`

एमाले महाधिवेशन : हालसम्म ६५० मत खस्यो, अब कति घण्टा लाग्ला ?

काठमाडौं । नेकपा नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा ६ घण्टामा ६५० मत खसेको छ । मतदानका लागि ८० वटा मेशिन राखिएको छ । उत्साह साथ प्रतिनिधि मतदानमा सहभागी भए पनि मतदान प्रक्रियाले लामो समय लिएको हो । एमाले महाधिवेशनमा जम्मा २ हजार २ सय ६३ प्रतिनिधि छन् । मतदान गरेर फर्किएकाहरुले आफूलाई मतदान गर्न ३० मिनेट जति समय लागेको बताएका छन् ।

‘मतदान उत्साहका साथ भइरहेको छ । ८० वटै मेसिनमा प्रतिनिधिले मतदान गरिरहनु भएको छ’, सचिव लामाले सुनाए, ‘मतदान सकिँदा रातिको १० बज्न सक्छ ।’ केन्द्रीय निर्वाचन आयोगका सचिव डा.कुन्साङ लामाका अनुसार दिउँसो ३ बजेसम्ममा ६ सय ५० मतदान भएको हो । बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो । चुनाबी प्रतिष्पर्धा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा दुई अलग–अलग प्यानल रहेका छन् ।

जेनजी आन्दोलन जाँचबुझ आयोग : दलका नेताहरुलाई बोलाउने तयारी

कामाठाडौं । भदौ २३–२४ को घटना छानबिन गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाउने तयारी भइरहेको बताएका छन् । बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारमा छलफल गरेपछि अध्यक्ष कार्कीले राजनीतिक दलका नेतालाई बोलाउने तयारी गरेको बताएका हुन् । आयोगले भदौ २३–२४ को घटनालाई लिएर प्रहरीका अधिकारीहरू, काठमाडौंका तत्कालीन सीडीओ, तत्कालीन गृहसचिव र प्रधानसेनापति अशोक सिग्देलसँग बयान लिइसकेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग आयोगले बयानको तयारी गरेको छ । एमाले अध्यक्ष समेत रहेका ओलीले आयोगको निष्पक्षतामा प्रश्न गर्दै बयानमा नजाने बताएका छन् । कार्कीले आयोगको म्याद १ महिना थप्नका लागि सरकारसँग आग्रह गरेका छन् । सरकारले ३ महिनाको समय दिएर असोज पहिलो साता कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

भारतमा मेस्सीले गरे आरती र पूजा, जिते ‘प्रशंसक’ को मन

काठमाडौं । विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सीको हालै सम्पन्न भारत भ्रमण केवल खेलकुद कार्यक्रममै सीमित रहेन । ‘द गोट टुर इण्डिया २०२५’ अन्तर्गत तीन दिन चार सहरको यात्रा गरेका मेस्सीले भारतीय संस्कृति, परम्परा र वन्यजन्तु संरक्षणप्रतिको सम्मानमार्फत लाखौं प्रशंसकको मन जितेका छन् । १३ डिसेम्बरमा भारत पुगेका अर्जेन्टिनी सुपरस्टार सोमबार स्वदेश फर्किए । यस अवधिमा उनले कोलकाता, हैदराबाद, मुम्बई र दिल्लीको भ्रमण गरे । जहाँ–जहाँ मेस्सी पुगे, त्यहाँ उत्साहको सागर देखियो । विमानस्थलदेखि कार्यक्रमस्थलसम्म फ्यानहरूको भीड, पोस्टर, नाराबाजी र स्वागत समारोहले भारतमा उनको लोकप्रियता झल्कायो ।

मेस्सीको दोस्रो भारत भ्रमणका क्रममा कोलकाता विशेष केन्द्रमा रह्यो । सन् २०११ मा पहिलो पटक भारत आउँदा कोलकातामै भेनेजुएलाविरुद्ध मैत्रीपूर्ण खेल खेलेका मेस्सीलाई यस पटक प्रत्यक्ष देख्न नपाएको भन्दै केही प्रशंसकले साल्ट लेक स्टेडियम आसपास तोडफोड गरे । घटनापछि पश्चिम बंगालको राजनीति समेत तरंगित बनेको छ । मेस्सी स्वयं भने सो घटनामा संलग्न नभई आफ्नो कार्यक्रम सकेर फर्किएका छन् । मेस्सीको भारत भ्रमणको सबैभन्दा भावुक र चर्चित क्षण भने गुजरातको जामनगरस्थित वनतारा संरक्षण केन्द्रमा देखियो । विश्वकै ठूलो वन्यजन्तु उद्धार, पुनर्वास र संरक्षण केन्द्रका रूपमा परिचित वनतारामा उनले परम्परागत स्वागत पाए । लोक संगीत, फूलको वर्षा र धार्मिक अनुष्ठानबीच मेस्सीले सनातन परम्पराप्रति सम्मान प्रकट गरे ।

उद्योगपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको निमन्त्रणामा जामनगर पुगेका मेस्सी आफ्ना साथी खेलाडी लुइस सुआरेज र रोद्रिगो डे पलसँगै थिए । करिब ३ हजार एकडमा फैलिएको वनतारामा सिंह, बाघ, हात्ती, चितुवा लगायतका जनावरहरूको संरक्षण गरिन्छ । सार्वजनिक भएका तस्बिर र भिडियोमा मेस्सीले पूजा थाली समातेर आरती गरिरहेको, टीका लगाइरहेको र शान्त भावमा प्रार्थना गरिरहेको देखिन्छ । उनले अम्बे माता पूजा, गणेश पूजा, हनुमान पूजा र शिव अभिषेकमा सहभागिता जनाए । विशेषगरी हनुमानजीको मूर्तिअगाडि श्रद्धापूर्वक आशीर्वाद लिएको दृश्य सामाजिक सञ्जालमा निकै चर्चित बन्यो । फ्यानहरूले मेस्सीलाई केवल महान् खेलाडी मात्र नभई संस्कृति र मानवताप्रति सम्मान देखाउने व्यक्तित्वका रूपमा प्रशंसा गरिरहेका छन् । ‘धर्म फरक भए पनि परम्पराको आदर गर्नु नै ठूलो मानवीय गुण हो’ भन्ने सन्देश मेस्सीको व्यवहारले दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा व्यापक देखिन्छ।

मेस्सीले धार्मिक कार्यक्रममा मात्र होइन, वनताराको संरक्षण अभियानको खुलेर प्रशंसा गरे । उनले जनावरहरूको केयर सेन्टर अवलोकन गरे, सिंह–बाघसँग नजिकबाट भेटे र कर्मचारीहरूसँग संवाद गरे । उनले स्पेनिस भाषामा भनेका छन्, ‘वनताराले जनावरहरूको लागि गरिरहेको काम साँच्चै सुन्दर छ । उनीहरूलाई बचाउने र हेरचाह गर्ने तरिका अत्यन्त प्रभावशाली छ । हामीले यहाँ अद्भुत समय बितायौँ ।’ चार सहरको भ्रमणमा लाखौँ भारतीय फ्यानले मेस्सीलाई स्वागत गरे । भीड, उत्साह र भावनात्मक क्षणबीच मेस्सीको यो यात्रा खेलकुदभन्दा पर गएर सांस्कृतिक कूटनीतिक उदाहरण बनेको छ । मैदानमा गोल गरेर इतिहास रच्ने ‘द गोट’ ले भारतमा भने नम्रता, सम्मान र मानवताको सन्देश छोडेर विदा लिएका छन् ।

 

प्यालेस्टाइन सहित ट्रम्पले लगाए सात देशलाई यात्रामा प्रतिबन्ध

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ । यसका साथै पश्चिमी देशहरूबाट हुने नियमित यात्रामा समेत नियमहरू थप कडा पारिएका छन् ।

आप्रवासनप्रति कठोर दृष्टिकोणलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउँदै आएका राष्ट्रपति ट्रम्पले सामूहिक निर्वासनको आदेश जारी गरिसका छन् भने गैर–श्वेत आप्रवासीहरूविरुद्धको कडा अभिव्यक्ति पनि तीव्र बन्दै गएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा ‘अमेरिकीहरूलाई धम्की दिन सक्ने’ विदेशी नागरिकहरूलाई रोक्न प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । साथै, अमेरिकाको संस्कृति, सरकार, संस्था तथा संस्थापक सिद्धान्तहरूलाई कमजोर पार्न खोज्ने व्यक्तिहरूलाई देशभित्र प्रवेश नदिन चाहिएको भनिएको छ ।

लामो समयसम्म शासक बशर अल–असदको पतनपछि अन्तर्राष्ट्रिय समुदायमा पुनःस्थापना हुने प्रयासमा रहेको सिरियामाथि यो प्रतिबन्ध त्यतिबेला लगाइएको छ जतिबेला केही दिन अघि त्यहाँ दुई अमेरिकी सैनिक र एक सर्वसाधारण मारिएका थिए । सिरियाली अधिकारीहरूका अनुसार ती घटनाका आरोपी सुरक्षा बलका पूर्वसदस्य थिए, जसलाई ‘चरमपन्थी इस्लामवादी विचार’ का कारण बर्खास्त गरिएको थियो ।

यसैबीच, फ्रान्स र बेलायतलगायत केही पश्चिमी देशहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको विरोधमा ट्रम्प प्रशासनले इजरायलसँग ऐक्यबद्ध हुँदै प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूमा अनौपचारिक यात्रा प्रतिबन्ध लागू गरिसकेको थियो, जसलाई अहिले औपचारिक बनाइएको छ ।

पूर्ण यात्रा प्रतिबन्धमा परेका नयाँ देशहरूमा अफ्रिकाका बुर्किना फासो, माली, नाइजर, सिएरा लियोन र दक्षिण सुडान, साथै दक्षिणपूर्वी एसियाको लाओस रहेका छन् । यसबाहेक, नाइजेरिया, आइभोरी कोस्ट र सेनेगललगायत केही अफ्रिकी देशका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ । यी देशहरू अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुने आगामी विश्वकप फुटबलका लागि योग्य भए पनि ट्रम्प प्रशासनले खेलाडीहरूलाई मात्र प्रवेश अनुमति दिने स्पष्ट पारेको छ, प्रशंसकहरूका हकमा कुनै प्रतिबद्धता जनाएको छैन ।

आंशिक प्रतिबन्धमा परेका अन्य देशहरूमा एङ्गोला, एन्टिगुआ र बार्बुडा, बेनिन, डोमिनिका, ग्याबोन, गाम्बिया, मलावी, मौरितानिया, तान्जानिया, जाम्बिया, जिम्बाब्वे तथा पोलिनेसियाली देश टोङ्गा रहेका छन् । यीमध्ये केही देश अमेरिकाका महत्त्वपूर्ण साझेदारसमेत रहेका छन्, जसलाई पूर्वराष्ट्रपति जो बाइडेनले लोकतन्त्रप्रतिको प्रतिबद्धताका लागि प्रशंसा गरेका थिए ।

शरणार्थी अधिकारका पक्षमा काम गर्ने इसाई संस्था ग्लोबल रिफ्युजले यात्रा प्रतिबन्धले कमजोर र जोखिममा परेका मानिसहरूलाई झनै अप्ठ्यारो अवस्थामा धकेल्ने चेतावनी दिएको छ । संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत कृष ओ’मारा विग्नाराजाहले व्यक्तिगत र प्रमाणमा आधारित मूल्याङ्कनको सट्टा सम्पूर्ण जनसङ्ख्यालाई सजाय दिने नीति अपनाइएको आरोप लगाएका छन् ।

राष्ट्रपति ट्रम्पले पछिल्ला सार्वजनिक कार्यक्रममा आप्रवासीहरूलाई लक्षित गर्दै विवादास्पद भाषा प्रयोग गर्दै आएका छन् । यसअघि नै सोमाली नागरिकहरूको प्रवेशमा प्रतिबन्ध लगाइ सकिएको छ भने अफगानिस्तान, इरान, लिबिया, सुडान, यमनलगायत देशहरू पनि पूर्ण यात्रा प्रतिबन्धमा रहेका छन् ।

यसै क्रममा ह्वाइट हाउसले तुर्कमेनिस्तानले गरेको ‘महत्त्वपूर्ण प्रगति’ लाई स्वीकार गर्दै त्यस देशका नागरिकलाई गैर–आप्रवासी भिसामा अमेरिका प्रवेशको अनुमति पुनः दिन थालिएको जनाएको छ । तर समग्रमा हेर्दा, राष्ट्रपति ट्रम्पको पछिल्लो निर्णयले अमेरिकी आप्रवासन नीतिलाई अझै कठोर बनाएको स्पष्ट देखिएको छ ।

ओझेलमा सुन्दर तावभञ्ज्याङ, पुगेन प्रचार-प्रसार

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहे पनि व्यवस्थित प्रवर्द्धन नहुँदा यो क्षेत्रले अपेक्षित रूपमा पर्यटक तान्न नसकेको हो ।

नयाँ वर्ष, चाडपर्व तथा विभिन्न अवसरमा वनभोज (पिकनिक) खान आउने आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको तावा भञ्ज्याङ पछिल्लो समय बिस्तारै चिनिन थालेको छ । तर, दीर्घकालीन योजना, पूर्वाधार विकास र प्रचार रणनीति नहुँदा यसको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन ।

मनोरम दृश्यले भरिपुर्ण रहेको यो क्षेत्र भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लखर्क र खोटाङको साकेला गाउँपालिका–३ लाई जोड्ने महत्वपूर्णस्थल हो । हरियाली वन, खुला फाँट, स्वच्छ हावापानी र टेम्के–सेल्मेको काखमा अवस्थित यस भञ्ज्याङले जो–कोही पर्यटकलाई आकर्षित गर्ने स्थानीय बताउँछन् ।

दुई जिल्लाको सिमानामा पर्ने यस क्षेत्रमा साकेला गाउँपालिकाले पछिल्लो समय विभिन्न भौतिक संरचना निर्माण गर्नुका साथै चियाखेतीको विस्तार सुरु गरेको छ । चिया बगान, खुला पार्क र प्राकृतिक दृश्यले तावा भञ्ज्याङको सौन्दर्य अझ बढाएको स्थानीयको भनाइ छ ।

तावा भञ्ज्याङ नेपाल सरकारको ‘घुम्नै पर्ने सय गन्तव्य’ सूचीमा समावेश मुन्दुम पदमार्गको सुरु विन्दुसमेत भएकाले यसको ऐतिहासिक र सांस्कृतिक महत्व पनि उत्तिकै छ । यति महत्वपूर्ण पहिचान हुँदाहुँदै पनि प्रचार–प्रसारको कमीका कारण अपेक्षित सङ्ख्यामा पर्यटक भित्रिन नसकेको सरोकारवालाको गुनासो छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले तावा भञ्ज्याङ टेम्के–सेल्मेको काखमा अवस्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यसको प्रवर्द्धनमा जोड दिन आवश्यक रहेको बताएका छन् । ‘यो क्षेत्रमा भरपूर पर्यटकीय सम्भावना रहेको देखिन्छ’, उनले भने, “केही संरचना निर्माणसँगै चियाखेती बिस्तार भइरहेको छ, स्थानीय तह, निजी क्षेत्र र सरोकारवाला निकाय मिलेर काम गर्नसके यो क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।’

स्थानीयका अनुसार दावाभञ्ज्याङ र पाँचधारे क्षेत्र भोजपुर र खोटाङबीच लेकबेँसी कृषिउपजको विनिमय हुने प्रमुख केन्द्रका रूपमा परिचित छ । यहाँ महिनामा दुई पटक पाँचधारे बजार लाग्ने गर्दछ । फराकिला डाँडाकाँडा, रमणीय भू–दृश्य र प्रशस्त पर्यटकीय सम्भावना भएकाले पाँचधारे तथा तावा भञ्ज्याङलाई जोडेर दुई जिल्लाकै साझा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ ।

प्राकृतिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण तावा भञ्ज्याङ र पाँचधारे क्षेत्रको व्यवस्थित विकास र प्रभावकारी प्रचार–प्रसार गर्नसके भोजपुर तथा खोटाङ दुवै जिल्लाको पर्यटन विकासमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ ।

मधेसका मुख्यमन्त्री यादवले पुस ४ मा विश्वासको मत लिने

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । उनले आगामी शुक्रबार (पुस ४) अपराह्न ४ बजे विश्वासको मत लिने तयारी गरेका हुन् । यसका लागि मुख्यमन्त्री यादवले प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै आवश्यक व्यवस्था मिलाई दिन आग्रह गरेका छन् । सचिवालयलाई पठाइएको पत्रमा उनले तोकिएको मिति र समयमा प्रदेश सभाको बैठक बोलाई विश्वासको मतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् । मुख्यमन्त्री यादवले सरकार गठनपछिको राजनीतिक अवस्था र समर्थनको अवस्थालाई मध्यनजर गर्दै विश्वासको मत लिन लागेका हुन् ।

‘कार्बन व्यापारलाई दीर्घकालीन सहायक लाभको रुपमा लिनुपर्छ’

काठमाडौं । कार्बन व्यापारलाई मुख्य आम्दानीको स्रोत नभई दीर्घकालीन सहायक आम्दानीको स्रोतको रुपमा लिनुपर्ने विज्ञहरुले बताएका छन् । प्राक्टिकल एक्शन र एसपिआई नेपालद्वारा आयोजित कार्बन व्यापार नियमन, २०८२ सम्बन्धी कार्यक्रममा सहभागी विज्ञहरुले कार्बन व्यापारलाई मुख्य आन्दानीको स्रोतको रुपमा लिए सफल हुन नसकिने बताएका हुन् ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र (एईपिसी) का कार्यकारी निर्देशक नवराज ढकालले कार्बन व्यापारलाई दीर्घकालिन सहायक आम्दानीको स्रोतमा लिनुपर्ने बताए । उनले कार्बन व्यापारलाई मुख्य आम्दानीको स्रोत मान्न नहुने बताए । चाँडो पैसा कमाउने माध्यमका रूपमा नभई दीर्घकालीन लो–कार्बन आर्थिक विकास रणनीतिसँग जोडेर यसलाई अघि बढाउनुपर्ने उनको भनाई छ । उनकाअनुसार कार्बन व्यापारबाट प्राप्त हुने लाभ को–बेनिफिट मात्र हो । उत्सर्जन न्युनिकरणलाई वैज्ञानिक रूपमा मापन गरी परियोजना विकासमार्फत कार्बन लाभ लिन सकिने उनले बताए । कार्बन व्यापारबाट थोरै भए पनि राजश्व सिर्जना गरी थप हरित गतिविधि विस्तार, रोजगारी सिर्जना र बहुआयामिक योगदान गर्नेगरी लाग्नुपर्नेमा उनले जोड दिए ।

उनकाअनुसार नेपालले सन् २०४५ मा शुन्य कार्बन उत्सर्जनको लक्ष्य लिएको छ । त्यसअनुसारका नीतिगत तथा कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिए । ढकालले नेपालले तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडिसी–३) लाई उत्सर्जन न्युनिकरणको मुख्य उपकरणका रूपमा अघि बढाइरहेको पनि जानकारी दिए । उनले भने, ‘हामी कार्बनबाट पैसा ल्याएर सबै कुरा कायापलट गर्ने भन्ने सोचबाट हामी काम गर्ने होइन । राज्यले लिएको जुन लो कार्वन ईकोनिमिक डेभलपमेण्टको प्रायोरिटी छ, त्यो भनेको लङटर्म ईकोनोमी डेभलपमेण्ट स्ट्याटिजीकै कुरा होला । २०४५ नजिक शून्य हुने भनेका छौँ । त्यस अन्तर्गत रहेर जुन हाम्रो मिटिगेसनको मेन ईन्सुमेन्ट बनेको छ, एनडिसी ३ । एनडिसी ३ ले आईडेन्टीफाई गरेको एरियामा विभिन्न मिटिगेसनको प्रोग्रामहरु गर्ने, त्यसले हाम्रो लो कार्बन ईकोनोमी डेभलपमेण्ट नै कन्ट्रिव्युट गर्छ । हामी क्लाईमेट रिजिलेन्ट बन्दै जाने हो ।’

उनले भने, ‘त्यसरी गरिरहँदा खेरी यो एउटा चाहीँ को–बेनिफिट मात्रै हो । कार्बन बेनिफिट भनेको को–बेनिफिट हो । हामी सबैले त्यसरी बुझेर यसलाई अगाडि भने गर्न सकिन्छ । कार्वनबाट सबै गर्छौं भन्दा पनि हामी लो कार्बन विकासमा गईरहँदाखेरी अवथा क्लिन डेभलपमेन्टमा गईरहँदाखेरी हामीले अब अपनाउने आधुनिक प्रविधिहरु स्वच्छ खालको भइरहँदा एलओजी ट्रान्जिसनदेखि हरेक क्षेत्रमा हामी जाँदा त्यसबाट हामीले जुन ईमिसन रिडक्सन अचिव गरेका छौँ, त्यसलाई क्वान्टीफाई गरेर एउटा सिष्टोमेटिक हिसावले अगाडि बढाएर प्राजेक्ट विकास गरेर अनि त्यसबाट हामीले कार्बन वेनिफिट चाहीँ लिने । अलिकति भएपनि रेभिन्यु जेनेरेट गर्ने जसले त्यस्तै खालको थप क्रियाकलाप गर्न सकियोस् । त्यसले रोजगारी सिर्जना गरोस्, अरु विभिन्न हिसावले योगदान गर्न सकोस्, त्यो अवधारणाले हामी अगाडि बढेमा कोही पनि मिस गाईडेड हुनु पर्दैन ।’

कार्यकारी निर्देशक ढकालले कार्बन व्यापार नियमावली, २०८२ का नियमावलीलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । एसपिआई नेपालका अध्यक्ष मोहनदास मानन्धरले कार्बन व्यापार नियमावलीमा धेरै संशोधन गर्नुपर्ने विषयहरु रहेको बताए । तर पनि यसलाई कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । उनले नियमावली कार्यन्वयन गर्नको लागि आवश्यक सहयोग गर्ने बताए । प्राक्टिकल एक्शनका कन्ट्रि डाइरेक्टर पूजा शर्माले कार्बन व्यापार नियमन, २०८२ नियमावली कार्यान्वयनले कार्बन उत्सर्जन कटौती गर्न सहयोग गर्ने बताइन् ।

उनले कार्बनसम्बन्धी नीतिनियम बनाएर कार्यन्वयन गर्न नसकेमा अन्तर्राष्ट्रिय कार्बन खरिदकर्ताहरुसँग संयोजन गर्न चुक्नुपर्ने अवस्था आउने बताइन् । नेपालले कार्बन उत्सर्जन कटौती गर्नसक्ने र कार्बन कटौती गरे बापत धनी मुलुकहरुले प्रोत्साहन स्वरुप नेपालको कार्बन खरिद गर्दा नेपाललाई आर्थिक लाभ हुने उनको भनाई छ । कार्यक्रममा सहभागी विज्ञहरूले कार्बन व्यापार नियमन, २०८२ कार्यान्वयनले निजी क्षेत्र, स्थानीय तह र समुदायस्तरका हरित परियोजनालाई संस्थागत रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् । निजी क्षेत्रले गरेको कार्बन उत्सर्जन न्युनिकरणलाई कार्बन व्यापारमा समेट्ने गरी सरकारले हालै कार्बन व्यापार नियमावली, २०८२ नेपाल राजपत्रमा प्रकाशित गरि नियमावली कार्यान्वयनमा ल्याएको छ । गत मंसिर १५ गतेको मन्त्रिपरिषद्को बैठकले कार्बन व्यापारसम्बन्धी नियमावली अनुमोदन गरेको थियो । नियमावलीले विगतमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका परियोजना मात्र कार्बन व्यापारका लागि सूचीकृत हुने गरेकामा अब सबै क्षेत्रलाई कार्बन व्यापारमा सूचीकृत गर्नसक्ने व्यवस्था गरेको छ ।

धनुषाको दुई विद्यालयमा भवन निर्माणका लागी जापान सरकारको सहयोग

महेन्द्रनगर(धनुषा) । जापान सरकारको आर्थिक सहयोगमा धनुषामा दुई वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधात्मक एवं सुविधासम्पन्न भवन निर्माण भएकोे छ । प्लान इन्टनेसनल नेपाल तथा आसमान नेपालको सहकार्यमा सञ्चालित शिक्षा परियोजनाअन्तर्गत सो विद्यालयको भवन निर्माण गरिएको हो ।

विदेह नगरपालिका–५ स्थित आधारभूत विद्यालय मुडिवामा रु ९४ लाख तथा जनकनन्दिनी गाउँपालिका–१ स्थित शङ्कर माध्यमिक विद्यालयमा रु एक करोड २५ लाखको लागतमा विद्यालय भवन निर्माण गरिएको परियोजना कार्यालयले जनाएको छ ।

दुवै विद्यालयका भवन अपाङ्गमैत्री दुई तल्लाको चार÷चार वटा कोठासहित पाँच÷पाँच वटा शौचालय तथा स्वच्छ खानेपानी ट्याङ्की र धारासहित निर्माण गरिएको प्लान नेपालका पूर्वाञ्चल क्षेत्रीय प्रमुख रविशङ्कर पण्डितले जानकारी दिएका छन् । ती विद्यालयका भवन जीर्ण हुनुका साथै बालबालिकाको पठनपाठनमा समस्या भएकाले सुविधासम्पन्न भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको उनले जानकारी दिएका छन् ।

नवनिर्मित विद्यालय भवनको जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको नेतृत्व, उपप्रमुख सङ्गीता ठाकुरको सहभागिता सहित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिको टोलीले निरीक्षण गरेको छ । निरीक्षणपश्चात् प्लान इन्टरनेसनलको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बसेको थियो ।

बैठकमा प्लानका पूर्वाञ्चल क्षेत्रीय प्रमुख पण्डित र आसमान नेपालका सञ्जय पासवानले यी दुई संस्थाले बालबालिका तथा लैङ्गिक समानता र भौतिक पूर्वाधारसम्बन्धी गरेको कार्य तथा प्रगति, त्यसको उपलब्धिबारे जानकारी दिएका थिए ।

बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले नेपाल सरकारको उद्देश्य तथा लक्ष्यलाई पूरा गर्न गैरसरकारी संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेर सहयोग गरिरहेका उल्लेख गर्दै यस्ता गैरसरकारी संस्थाहरूले थप प्रभावकारी कार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख मण्डलले गैरसरकारी संस्थाहरूले पालिकासँगको समन्वयमा शिक्षा, स्वास्थ्य, सरसफाइ तथा चेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने विचार व्यक्त गरेका छन् । प्लान इन्टरनेसनल नेपालले सन् १९७८ देखि नेपालमा सामाजिक तथा सचेतनाका क्षेत्रमा काम गर्दै आएको छ । हाल आफ्ना साझेदार संस्थामार्फत मधेस प्रदेशको चार जिल्लासहित १३ जिल्लामा कार्य गर्दै आएको छ ।

सो संस्थाले धनुषाको विदेह नगरपालिका, जनकनन्दिनी गाउँपालिका, सहिद नगरपालिका, कमला नगरपालिका र सवैला नगरपालिकामा लैङ्गिक समानता तथा भौतिक पूर्वाधार निर्माणसम्बन्धी विभिन्न कार्य गर्दै आएको छ । हाल नेपालमा सो संस्थाको लैङ्गिक समानतातर्फ प्रत्यक्ष रूपमा सात लाख र अप्रत्यक्ष रूपमा १५ लाख बालबालिका र किशोरकिशोरी एवं महिलालाई लाभान्वित गर्नेगरी योजनाबद्ध काम गरिरहेको क्षेत्रीय प्रमुख पण्डितले जानकारी दिएका छन् ।

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।

नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए । त्यस्तै चन्दन रामले २७ रनको योगदान दिए भने अभिषेक तिवारीले २० रन जोडे । अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई-दुई विकेट हात पारे ।

एमाले महाधिवेशन : पाँच घण्टामा कति खस्यो मत ?

काठमाडौं । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा पाँच घण्टादेखि मतदान जारी छ । आज बिहान सवा ९ बजेदेखि मतदान सुरू भएको थियो । दिउँसो सवा २ बजेसम्म ५३२ जनाले मतदान गरेको पार्टी निर्वाचन आयोगले जानकारी दिएको छ । एमाले महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन् । एमालेले आज राति १० बजेभित्रै मतदान सक्ने र लगत्तै गणना गर्ने जनाएको छ ।

अध्यक्षसहित १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य (केही निर्विरोध भइसकेको) र ३ वटा आयोगका पदाधिकारीका लागि मतदान भइरहेको छ । मतदान भृकुटीमण्डपमै भइरहेको छ । एक जनाले मत हाल्न करिब २५ देखि ४० मिनेटसम्म लाग्ने गरेको छ । विद्युतीय मेसिनमा मतदान भइरहेको हो ।

इरानलाई उत्तरी यूरोपसँग जोड्न रुसले सहयोग गर्ने

तेहरान ।  रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको इरानको सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ ।

इरानको राजधानी तेहरानमा भएको बैठकमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र रूसी यातायात उपप्रधानमन्त्री भिटाली साभलेभले अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात कोरिडोर (आईएनएसटीसी) परियोजना सम्पन्न गर्ने विषयमा विचार आदान-प्रदान गरेको जनाइएको छ ।

लारिजानीले परियोजना कार्यान्वयन गर्न इरानको तयारीलाई प्रकाश पार्दै आफ्नो देशले निकट भविष्यमा विद्यमान कार्यकारी र संस्थागत अवरोधहरू हटाउने र परियोजनाको कार्यान्वयनलाई कानुनी र प्रशासनिक रूपमा सुदृढ पार्न आवश्यक सम्झौताहरू लागु गर्ने बताएका छन् ।

साभलेभले आफ्नो तर्फबाट इरानको निर्णायक दृष्टिकोणलाई स्वागत गर्दै यस परियोजनालाई यसको परिचालन चरणमा अगाडि बढाउन मस्कोको तयारी रहेको बताएका छन् ।

दुवै पक्षले दिगो द्विपक्षीय सहयोगलाई सुदृढ गर्न र स्वतन्त्र क्षेत्रीय सम्पर्क मार्गहरू निर्माण गर्न आईएनएसटीसी आफ्नो देशको संयुक्त रणनीतिको हिस्सा भएको कुरामा जोड दिएको जनाइएको छ ।

सन् २०२३ जुलाइमा, इरान रूसले आईएनएसटीसीको रूपमा इरान भित्र रेलवे निर्माणका लागि कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरेका थिए । जसले १६२ किलोमिटर लामो रेलवेले पूरा भएपछि उत्तरी इरानी सहरहरू राश्त र अस्तारालाई जोड्ने छ ।

संसद विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासले बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको रिट निवेदक श्याम घिमिरेले जानकारी दिए । इसलासमा प्रधानन्यायाधीशका अलावा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए ।

प्रतिनिधिसिभा विघटनअघि कांग्रेसको प्रमुख सचेतक रहेका श्याम घिमिरेसहित आठ पूर्व सांसदले दायर गरेको रिट ‘ज’ नम्बरमा पेशी चढेको थियो । सो रिटमा प्ररम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । प्रतिनिधि सभा विघटन निर्णय बदर गर्न माग गर्दै कांग्रेसले मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेको थियो । नेकपा एमाले र अन्य कानून व्यवसायीले दायर गरेका रिट सर्वोच्चमा विचाराधीन छन् । भदौ २३–२४ को जेनजी आन्दोलनको बलमा बनेको सरकारले भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेको थियो ।

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

नोम पेन(कम्बोडिया) ।  कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या १७ पुगेको उल्लेख गर्दै थाई सैन्य बलले कम्बोडिया क्षेत्रमा हवाई आक्रमण र गोलाबारी जारी राखेको बुधबार बताएको छ ।

कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बुधबार देखि थाई सेनाले कम्बोडियाको ओड्डर मिन्चे, बान्टे मिन्चे र पर्सात प्रान्तका विभिन्न स्थानमा आक्रमण गर्न ट्याङ्क–माउन्टेड मेसिन गन, ड्रोन, आर्टिलरी र एफ–१६ लडाकू जेट प्रयोग गरेको बताएका छन् ।
सोचेटाले द्वन्द्वका कारण कम्बोडियाका नागरिकहरु आक्रमणको सिकार भएको उल्लेख गर्दै घाइतेहरूको सङ्ख्या ७७ पुगेको जनाएका छन् ।

आधिकारिक तथ्याङ्कका अनुसार द्वन्द्वले एक लाख ३० हजार भन्दा बढी कम्बोडियन परिवारका करिब चार लाख ३८ हजार व्यक्तिहरूलाई सुरक्षित आश्रयका लागि आफ्नो घर छोड्न बाध्य पारेको जनाइएको छ ।

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर– ७ देखि पुनः सुरु भएको छ, भने दुवै पक्षले एक अर्कालाई आक्रमण सुरु गरेको आरोप लगाएका छन् ।

 

वैदेशिक लगानी : पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ३८ अर्ब ५९ करोडको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि मंसिरसम्म स्वीकृत भएका परियोजनामार्फत ३८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी लगानी प्रतिवद्धता आएको हो ।

समीक्षा अवधिमा कुल ४ सय ३८ वटा विदेशी लगानीसम्बन्धी परियोजना स्वीकृत भएका छन् । परियोजनाको संख्याका आधारमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्र शीर्ष स्थानमा देखिएको छ ।

कुल स्वीकृत परियोजनामध्ये २ सय ३६ वटा आईसीटीसँग सम्बन्धित छन्, जसले आधाभन्दा बढी हिस्सा ओगटेको छ । आइसीटी क्षेत्रको विकाससँगै यसले अगामी दिनमा मुलुकको अर्थतन्त्रमा आफ्नो योगदानलाई बढाउने देखिएको छ । यद्यपी लगानी रकमका हिसाबले भने कृषि तथा वनजन्य उद्योग क्षेत्र सबैभन्दा बढि लगानी प्रतिवद्धता आएको छ । यस क्षेत्रमा मात्रै करिब २२ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, पर्यटन क्षेत्रले उल्लेख्य स्थान ओगटेको छ, सो क्षेत्रका १ सय ३५ वटा परियोजनामार्फत १० अर्ब रुपैयाँभन्दा बढी लगानी प्रस्ताव आएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ ।

क्षेत्रगत रूपमा हेर्दा पाँच महिनामा कुल लगानी प्रतिबद्धतामध्ये सूचना तथा प्रविधि क्षेत्रमा ५४ प्रतिशत, पर्यटन क्षेत्रमा ३१ प्रतिशत, सेवा क्षेत्रमा ६ प्रतिशत, उत्पादन क्षेत्रमा ६ प्रतिशत र कृषि क्षेत्रमा ३ प्रतिशत रहेको छ । परियोजनाको संख्या धेरै भएपनि आईसीटी क्षेत्रमा आएको लगानी रकम भने करिब १ अर्ब रुपैयाँमै सीमित छ । परियोजनाको आकारका आधारमा हेर्दा स्वीकृत ४३८ उद्योगमध्ये ४२३ वटा साना, ८ वटा मझौला र केवल ७ वटा ठूला उद्योगमा लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागकाअनुसार मंसिर महिनामा मात्रै ५६ वटा उद्योगमा करिव १ अर्ब ९१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । तीमध्ये अधिकांश साना उद्योग रहेका छन् । यसै अवधिमा विदेशी लगानीकर्ताले रोयल्टीबापत १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता लैजान विभागबाट स्वीकृति पाएका छन् ।

 

 

मादीमा बन्दैछ आकर्षक आर्क ‘ब्रिज’, समयमै सक्न कस्सियो आयोजना

तनहुँ ।  मुग्लिन–पोखरा खण्ड अन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । दैनिक एक सय ३० कामदार खटाएर उक्त पुल तीव्र गतिमा निर्माण गरिँदै छ ।

पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनमा निर्माण गर्न लागिएको हो । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन चार लेनको पुलमा दैनिक एक सय ३० जना कामदार परिचालन गरिएको आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार यातायात आवागमनका लागि मात्रै नभई पर्यटकलाई पनि आकर्षित गर्ने उद्देश्यले कलात्मक डिजाइनको पुल निर्माण भइरहेको छ ।

तीन सय १५ मिटर लामो यस पुलको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ । “सम्झौताअनुसार काम नसकिएपछि ११ महिना म्याद थप गरिएको हो”, इञ्जिनियर पाण्डेले भनेका छन्, “पछिल्लोपटक थप गरिएको म्यादभित्र पुल सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको छ । ”

अहिले पुलको ढलान गर्नुपूर्वको फर्मा लगाउने, डण्डी तान्ने, टेका लगाउनेलगायत काम भइरहेको छ ।” उनका अनुसार चार लेनको एउटै बेस निर्माण गरिएको उक्त पुल पृथ्वी राजमार्गकै पहिलो र लामो छ ।

गत साउन २६ गते म्याद सकिएपछि आगामी असार १९ गतेसम्मलाई समय थपिएको इञ्जिनियर पाण्डेले जानकारी दिए । उनले भने, “जेठ, असार, साउन र भदौ गरी चार महिना वर्षायाम भएकाले निर्माण रोकिएकामा दसैँ लगत्तैदेखि पुनः निर्माणले गति लिइरहेको छ ।” उनका अनुसार पुलमा छ वटा स्पान हुनेछन् ।

पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले विसं २०७९ साउन २६ गते रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताएका छन् ।

मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । आँबुखैरेनी–जामुनेसम्मको ४१ दशमलव ४५ किमी कालोपत्र सकिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

एमालेको समर्थनमा खुलेकी ज्योतिको ओलीसँग ‘फोटोसुट’

काठमाडौं । गायिका ज्योति मगर हाल नेपाली राजनीतिको चर्चित अनुहार बनिरहेकी छिन् । उनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत सुझबुझपूर्ण राजनीतिक स्टाटस लेखेर आफ्ना विचार सार्वजनिक गर्दै आएका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सक्रिय राजनीतिक आवाज दिने उनले नेकपा एमालेको ११औं महाधिवेशनमा पनि आफ्नो उपस्थिति देखाएकी छन् ।

मंगलबारदेखि नै भृकुटीमण्डपमा विभिन्न उम्मेदवारका पक्षमा प्रचारमा जुटेकी ज्योति मगरले बुधबार अध्यक्षका उम्मेदवार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भलाकुसारी गर्दै फोटोसुट गरेकी छन्। तस्बिरमा उनीहरु दुवै मुस्कुराउँदै देखिएका छन् । ज्योतिले आफू कुनै पार्टीको स्थायी कार्यकर्ता नभएको स्पष्ट गर्दै भनिन, ‘देश जलाउनेको विपक्ष र देश बनाउनेको पक्षमा रहेको छु ।’ तर महाधिवेशनको समयमा उनले खुलेर एमालेका उम्मेदवारको पक्षमा सक्रिय भई प्रचारमा भाग लिनु राजनीतिक चेतनाको संकेत भएको छ ।

एमाले महाधिवेशनको चौथो दिन मतदानसँगै प्रचार पनि जोडदार रुपमा जारी छ । अध्यक्षका उम्मेदवार ओली र ईश्वर पोखरेल दुवै सँगसँगै मत माग्दै हिँडिरहेका छन् भने ज्योति जस्ता कलाकारको सहभागिता पार्टीको प्रचार अभियानलाई थप रंगीन र चर्चा योग्य बनाएको छ । सामाजिक सञ्जाल र मिडियामा ज्योतिको सक्रियता र एमाले महाधिवेशनसँगको उनको सम्बन्धले युवापुस्तामा पनि राजनीतिक चेतना जगाउने एक उदाहरणको रुपमा देखिएको छ ।

 

 

२९ वर्षमै एमालेको निर्विरोध केन्द्रीय सदस्य : यसरी सम्भव भयो रौनितको राजनीतिमा उदय

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट सर्लाहीका रौनित साह २९ वर्षकै उमेरमा पार्टीको केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् । मधेश प्रदेशबाट ४० वर्षमुनिका युवाको कोटामा निर्विरोध निर्वाचित साह केन्द्रीय कमिटीमा पुग्ने सबैभन्दा कान्छा सदस्यमध्ये परेका छन् । २०५२ साल माघ २८ गते जन्मिएका साह पछिल्ला १२–१३ वर्षदेखि एमाले संगठनमा सक्रिय रहेको दाबी गर्छन् । उनी तीन कार्यकाल जिल्ला कमिटी सदस्य, हाल सर्लाही जिल्ला कमिटी अध्यक्ष तथा भूमि आयोग सर्लाहीका सदस्य समेत हुन् । भारतको बैंग्लोरबाट बीबीए अध्ययन गरेका साह हाल पूर्ण रूपमा पार्टी राजनीतिमै संलग्न रहेको बताउँछन् ।

एमालेको नयाँ विधानअनुसार केन्द्रीय कमिटीमा ४० वर्षमुनिका १५ युवालाई समेट्ने व्यवस्था गरिएको छ । यही व्यवस्थाअन्तर्गत मधेसी युवाबाट सर्लाहीका रौनित साह र महोत्तरीका अमरकुमार यादव निर्विरोध चयन भएका हुन्। तर साहको उदयसँगै परिवारवादको आरोप पनि लाग्ने गरेको छ । उनी एमाले सर्लाही जिल्ला कमिटी अध्यक्ष राजनारायण साहका छोरा हुन् । गत मंसिर १४ गते महाधिवेशन प्रतिनिधि छनोटका क्रममा जिल्लामा असन्तुष्टि देखिएको थियो । पार्टी निर्माणमा लामो समयदेखि योगदान गरेका केही सक्रिय नेता–कार्यकर्तालाई पाखा लगाएर अध्यक्ष साहले आफ्नै परिवारका सदस्यलाई अघि सारेको आरोप एमालेकै नेताहरूले लगाएका छन् ।

अनेरास्ववियुका केन्द्रीय सचिव तथा प्रवक्ता समिमबाबु पठानले आफू ०६७ सालदेखि विद्यार्थी आन्दोलनमार्फत पार्टीमा सक्रिय रहे पनि महाधिवेशन प्रतिनिधि बन्न नपाएको गुनासो गरेका छन् । प्रतिनिधि छनोटमा परिवारवाद देखिएको भन्दै उनले त्यसबेला व्यापक असन्तुष्टि रहेको बताएका छन् ।
आरोपबारे प्रतिक्रिया दिँदै रौनित साहले आफू बुवाको कृपाले नभई पार्टीभित्रको सक्रियता र सिफारिसकै आधारमा केन्द्रीय सदस्य बनेको दाबी गरेका छन् । ‘क्षेत्रका युवाहरूले नै मलाई प्रतिनिधिमा सिफारिस गरेका हुन्,’ उनले भने, ‘कसैलाई अवसर नपर्नु मेरो दोष होइन ।’

एकातिर एमालेले युवालाई नेतृत्वमा ल्याउने सन्देश दिएको छ भने अर्कोतिर रौनित साहको चयनले पार्टीभित्र योग्यता बनाम पहुँचको बहस पुनः सतहमा ल्याएको छ । २९ वर्षमै केन्द्रीय कमिटीमा पुगेका साहको राजनीतिक यात्रा आगामी दिनमा संगठन सुदृढीकरणतर्फ जान्छ कि आलोचनालाई पुष्टि गर्ने दिशामा, त्यो भने उनको काम र भूमिकाले नै तय गर्नेछ ।

 

 

 

 

 

प्रतिष्पर्धालाई तिक्तताको रूपमा लिनु हुन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया लोकतान्त्रिक अभ्यास र आपसी सौहार्दताका साथ अघि बढिरहेको छ । अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धालाई नकारात्मक रूपमा लिन नहुने स्पष्ट पार्दै यसलाई लोकतन्त्रको स्वाभाविक अभ्यासका रूपमा बुझ्न आग्रह गरेका छन्।

महाधिवेशनस्थलमा प्रतिनिधिसँग भोट माग्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने प्रक्रियामा सबैले खुला र सकारात्मक सहभागिता जनाइरहेको बताए । उनले नेतृत्व चयनका क्रममा देखिने प्रतिस्पर्धालाई तिक्तता वा विभाजनको संकेतका रूपमा व्याख्या गर्नु गलत हुने धारणा राखे । उनका अनुसार विगतमा पार्टी गम्भीर विभाजनको जोखिममा परेका बेला विशेष परिस्थिति थियो, तर अहिले एमाले त्यस्तो अवस्थामा नरहेको र विचार, संगठन तथा लक्ष्यका हिसाबले पार्टी एकताबद्ध रहेको छ ।

पोखरेलले पार्टीभित्र विचार, संगठन र कार्यदिशामा कुनै मतभेद नरहेको जिकिर गर्दै कार्यसम्पादनको शैली, वैचारिक स्पष्टता र संगठनात्मक व्यवस्थापनलाई अझ सुदृढ बनाउने सन्दर्भमा विभिन्न साथीहरू आ–आफ्ना मान्यतासहित अघि बढेको बताए । यस्तो बहस र प्रतिस्पर्धा पार्टीलाई अझ सबल बनाउने माध्यम भएको उनको भनाइ थियो ।

महाधिवेशनमा देखिएको अर्को उल्लेखनीय पक्ष भनेको नेतृत्व प्रतिस्पर्धाका बीच पनि कायम रहेको सौहार्दता हो । मतदान चलिरहेको समयमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल एकसाथ प्रतिनिधिहरूसँग भेट्दै भोट मागिरहेका देखिएका छन्। उनीहरूसँगै उपाध्यक्षका उम्मेदवार विष्णु पौडेल, महासचिवका उम्मेदवार शंकर पोखरेललगायत नेताहरू पनि संयुक्त रूपमा मतदातासँग संवादमा जुटिरहेका छन् ।

मतदान प्रक्रिया जारी रहँदा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्यका लागि चुनाव भइरहेको छ भने केही केन्द्रीय सदस्य निर्विरोध चयन भइसकेका छन् । महाधिवेशनमा कुल २२ सय ६२ जना प्रतिनिधि सहभागी छन् र दिउँसो १२ बजेसम्म करिब चार सय मत खसिसकेको जानकारी दिइएको छ। महासचिवका उम्मेदवार शंकर पोखरेलले पनि यो निर्वाचन प्रक्रियाले एमालेभित्र आन्तरिक लोकतन्त्र बलियो र जीवन्त रहेको प्रमाणित गरेको बताएका छन् । समग्रमा, नेतृत्वका लागि कडा प्रतिस्पर्धा भए पनि एमाले महाधिवेशनले सहकार्य, पारदर्शिता र लोकतान्त्रिक संस्कृतिको सन्देश दिइरहेको देखिन्छ, जसले पार्टीलाई आगामी दिनमा अझ संगठित र सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

 

 

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) ।  वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १२ अर्ब एक करोडअर्थात् १४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । जबकी कार्यालयले गत आवको पाँच महिनामा भने रु ८४ अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको पाँच महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको बताएका छन् । “कार्यालयले मङ्सिर महिनामा रु २१ अर्ब ३३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले सो महिनामा मात्रै लक्ष्यको ९८ प्रतिशतअर्थात् रु २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको छ ।”

प्रमुख भन्सार प्रशासक ज्ञवालीले चालु आवको पाँच महिनामध्ये सबैभन्दा धेरै राजस्व पनि मङ्सिर महिनामा सङ्कलन भएको बताए । साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोज महिनामा रु १९ अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो ।

त्यस्तै कात्तिक महिनामा रु १७ अर्ब ३३ करोड र मङ्सिर महिनामा भने रु २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयालाई वर्षभरिमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ । हालसम्मको पाँच महिनामा वार्षिक लक्ष्यको ८७ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

एमाले महाधिवेशनमा ‘क्रस भोटिङ’, लिस्ट फेरबदलको आरोपमा एक जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) को महाधिवेशनमा बुधबार बिहानदेखि मतदान जारी छ । भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ भने मतदान गरेर निस्किएका धेरै प्रतिनिधिले प्यानल नहेरी ‘क्रस भोटिङ’ गरेको बताएका छन् । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्ने प्रतिनिधिहरूले पार्टीलाई एकताबद्ध राख्न दुवै पक्षका सक्षम उम्मेदवारलाई मत दिएको बताएका हुन् । अध्यक्षमा भने प्यानलअनुसार मत हालिएको भए पनि उपाध्यक्ष, महासचिव र सचिवमा मिश्रित रूपमा मतदान भएको उनीहरूको भनाइ छ । महासचिवमा कडा प्रतिष्पर्धा देखिएको भन्दै प्यानलभन्दा व्यक्ति हेरेर मत दिएको प्रतिक्रिया पनि आएको छ ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिष्पर्धामा छन् । महासचिवमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन् । एमालेको १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि दुवै पक्षले प्यानल बनाएर प्रतिष्पर्धा गरिरहेका छन् । महाधिवेशनमा ६ सय बढी उम्मेदवार छन् भने २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेका छन् । मतदान राति १० बजेसम्म चल्ने र त्यसलगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यहीबीच, प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीका अनुसार अछाम घर भएका शंकर सावदलाई मतदान केन्द्र परिसरबाट नियन्त्रणमा लिइएको हो । सावदले दुवै प्यानलका उम्मेदवारहरूको नाम अदलबदल गरेर तयार पारेको सूची वितरण गरेको आरोप एमाले कार्यकर्ताहरूले लगाएका छन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मतदानस्थलमा प्रतिनिधिहरू लामबद्ध देखिन्छन् भने दुवै समूहका नेता तथा समर्थकहरू आफ्ना उम्मेदवारका पक्षमा मत माग्दै सक्रिय छन् । ‘क्रस भोटिङ’ को चर्चा र लिस्ट फेरबदल प्रकरणले महाधिवेशनको प्रतिष्पर्धा थप चासोको विषय बनेको छ ।

 

 

एमाले महाधिवेशनमा मतदान धमाधम, आजै राति नतिजा

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदान आजै सम्पन्न गरी रातिबाटै मतगणना सुरु गर्ने तयारी गरिएको छ। काठमाडौँको भृकुटीमण्डपमा भइरहेको मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित पार्टीको केन्द्रीय निर्वाचन आयोग अघि बढिरहेको छ। एमाले नेता राजेन्द्र गौतमले बुधबार बिहान मतदानस्थलमै आयोजित प्रेस ब्रिफिङमा मतदान प्रक्रिया अनुमानित समयमै अगाडि बढिरहेको जानकारी दिए । उनका अनुसार प्रतिनिधिको संख्या, प्रयोगमा रहेका भोटिङ मेसिन र मतदान प्रक्रियालाई आधार मान्दा साँझ ८–१० बजेसम्म मतदान सकिने र त्यसको दुई घण्टाभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्न सकिने अवस्था छ ।

भृकुटीमण्डपमा ८० वटा भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ । यद्यपि मेसिन प्रयोग भए पनि उम्मेदवारको संख्या धेरै भएकाले एक प्रतिनिधिलाई मतदान गर्न २० देखि ३० मिनेटसम्म लाग्ने गुनासो मतदाताहरूले गरेका छन् । एक पटकमा ८० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था गरिएको छ। एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले पनि आजै राति मतदान सम्पन्न हुने र मध्यरातिबाटै मतगणना सुरु गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार प्रारम्भिक अनुमानअनुसार राति ८ बजेसम्म मतदान सकिनुपर्ने भए पनि एक–दुई घण्टा ढिलो हुन सक्ने सम्भावना छ । तर राति १० बजेसम्म मतदान सकिएपछि गणना प्रक्रिया तत्कालै सुरु गरिनेछ ।

यस निर्वाचनमार्फत ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ । पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना निर्वाचित हुनेछन् । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ । समग्रमा करिब ६ सय ५० जनाजति उम्मेदवार चुनावी मैदानमा छन् । पार्टी नेतृत्व चयनका लागि निर्णायक मानिएको यस निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारीले एमाले महाधिवेशन थप रोचक र निर्णायक चरणमा प्रवेश गरेको छ ।

मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजना निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर) । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आज महेन्द्रनगरस्थित महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको र महाकाली चार लेन पुलको स्थलगत निरीक्षण गरेका छन् ।सो अवसरमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले आयोजनाको पछिल्लो प्रगतिका बारेमा जानकारी दिएका थिए ।

लामो समयदेखि प्रक्रियागत अल्झनले पुल र सिचाँइको काम प्रभावित भएपछि बनेको जनाइएको छ । राष्ट्रिय गौरवको आयोजनामा महाकाली सिँचाइ तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएर पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइका लागि संरचना तयार भए पनि टनकपुरबाट भारतीय पक्षले नहरमा पानी नछोड्दा यहाँका किसानले सिँचाइ सुविधा पाउन सकेका छैनन् ।

सो अवसरमा उनले सिँचाइ आयोजनाको समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिएका छन् । “महाकाली सिँचाइ तेस्रो चरण नहरमा पानी सञ्चालनका लागि माथिल्लो तहबाट नै भारतसँग पहल भइरहेको छ”, उनले भने, “यहाँको समस्याका बारेमा जानकारी भएको छ समस्या समाधानमा लाग्छौँ ।”

त्यसैगरि भीमदत्त नगरपालिका–११ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको छेउमा निर्माण हुने कृतिम ताल र तटबन्ध निर्माणका लागि मन्त्रिपरिषद् स्तरीय निर्णय नहुँदा डेढ वर्षदेखि निर्माण कार्य बन्द छ । यसअघि निर्माण भएको तटबन्ध महाकाली नदीको बाढीले भत्काएपछि डिजाइनमा परिवर्तन गरिएको थियो । उक्त डिजाइन हालसम्म पनि स्वीकृत नहुँदा काम हुन सकेको छैन । उनले “तटबन्ध निर्माण नहुँदा यहाँ बाढीको जोखिम रहेछ बर्सात अघि नै यहाँको समस्या समाधान हुनेगरी काम गर्छौं ।”

अवसरवादी र लैबरीलाई कार्यकर्ताले भोट दिँदैनन्: महेश बस्नेत

काठमाडौं। नेकपा एमालेका वर्तमान पोलिटब्युरो सदस्य महेश बस्नेतले यसपटकको महाधिवेशनमा पार्टीभित्रका अवसरवादी नेताहरू पराजित हुने दाबी गरेका छन् ।

भृकुटीमण्डपमा जारी ११औ राष्ट्रिय महाधिवेशनमा बुधबार मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘यसपालि महाधिवेशनमा अवसरवादी र लैबरीलाई भोट हाल्ने कार्यकर्ता आएका छैनन्,’ उनले भने, ‘यसपालि जोस-जाँगर र ऊर्जा बोकेका, राष्ट्र र राष्ट्रिता जोगाउन सक्ने नेतालाई जिताउने प्रतिनिधि आएका छन् ।’

उनले पराजित भएका उम्मेद्वारलाई पनि पार्टीमा सम्मानजनक भूमिका दिइने बताए ।

‘चुनावमा हारेकै आधारमा कसैलाई कारबाही गर्नै मिल्दैन,’ उनले भने, ‘जित्ने साथीहरूले सम्बन्धित जिम्मेवारीमा काम गर्नुहुन्छ, उहाँहरूले पराजित हुनेलाई सम्मानजनक भूमिका दिनु पर्छ ।‘

केपी शर्मा ओलीको प्यानलबाट सचिवमा उम्मेद्वार दिएका बस्नेतले आफूले लोकप्रीय मत ल्याएर जित्ने दाबी समेत गरेका छन् ।

 

 

नेपाल सरकार र एडीबीबीच ऋण सम्झौता

काठमाडौं । नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच सार्वजनिक वित्त व्यवस्थापन तथा विकेन्द्रित सेवा प्रवाह सुदृढीकरण कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रमका लागि सहुलियतपूर्ण ऋण सम्झौता सम्पन्न भएको छ । बुधवार अर्थ मन्त्रालयमा एक समारोहका बीच उक्त सम्झौता भएको हो । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा एशियाली विकास बैंकको तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आनो कुबाले हस्ताक्षर गरे । सम्झौताअनुसार एशियाली विकास बैंकले नेपाल सरकारलाई नीतिमा आधारित ऋण सहायता स्वरूप १०० मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोग उपलब्ध गराउनेछ ।

ऋणको कुल अवधि २४ वर्ष रहनेछ भने शुरुका ८ वर्ष भुक्तानी छुट (ग्रेस अवधि) रहने व्यवस्था गरिएको छ । ऋणको ब्याजदर पहिलो चरणमा १ प्रतिशत र त्यसपछिका वर्षहरूमा १.५ प्रतिशत रहनेछ । समारोहमा बोल्दै अर्थ सचिव डा. उपाध्यायले सार्वजनिक वित्तीय व्यवस्थापनलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउँदै संघीय शासन प्रणालीलाई सुदृढ गर्न यस कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

सचिव उपाध्यायले भने, ‘सार्वजनिक वित्तीय व्यवस्थापनलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन यो कार्यक्रमले सघाउ पुग्नेछ । संघीय शासन प्रणालीलाई सुदृढ गर्न पनि यस खाले कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा हामी विश्वस्त छौं ।’ एशियाली विकास बैंकका आवासीय प्रतिनिधि कुबाले नेपाल सरकारसँगको सहकार्यलाई अझ सशक्त बनाउँदै सेवा प्रवाह सुधारमा निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममार्फत सार्वजनिक स्रोतसाधनको प्रभावकारी उपयोग, वित्तीय अनुशासन मजबुत बनाउने, राजश्व परिचालन सुधार, बजेट निर्माण तथा खर्च व्यवस्थापन प्रणाली सुदृढ गर्ने लक्ष्य लिइएको छ । साथै संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय बढाउँदै स्थानीय सरकारहरूको क्षमता अभिवृद्धि गरी समग्र विकास परिणामलाई नतिजामुखी बनाउने अपेक्षा गरिएको छ । कार्यक्रममा अर्थ मन्त्रालय तथा एशियाली विकास बैंकका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

 

 

भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा

गण्डकी । पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोडको आयोजना भोलि यहाँ हुने ‘टुरिजम मिट’ मा सहभागी हुन पोखरामा रहेको १२ सदस्यीय भारतीय ‘टुर अपरेटर र सोसल मिडया’कर्मीको टोलीले पर्यटकीय गन्तव्य बेगनास ताल क्षेत्रको अवलोकन गरेको छ ।

टोलीलाई सोमबार पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाको नेतृत्वमा सुनौली नाकामा स्वागत गर्र्दै स्थलमार्गबाट चितवन हुँदै सौराहा ल्याइएको थियो । गन्तव्य प्रवर्द्धन कार्यक्रमअन्तर्गत भारतीय टोलीलाई होटल सङ्घ नेपाल चितवनका तर्फबाट स्वागत एवं पर्यटकीय साझेदारीलगायत विषयमा अन्तक्र्रिया गर्नुका साथै चितवनका पर्यटकीयस्थल अवलोकन गराइएको थियो ।

उत्तर प्रदेशको पर्यटन विभागका सहनिर्देशक दिनेश कुमारले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भारतीय टोली आज पर्वत र बागलुङका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमणमा छ ।

निर्विरोध रौनित साह बने एमालेको कान्छो केन्द्रीय सदस्य

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा रौनित साह निर्विरोध निर्वाचित भएका छन् । मधेशबाट ४० वर्षमुनिका युवाको तर्फबाट निर्विरोध निर्वाचित भएका साह निर्विरोध भएकामध्ये सबैभन्दा कान्छो उम्मेदवार हुन् । साहको जन्म २०५२ माघ २८ गते भएको हो ।

उनी सर्लाही जिल्ला कमिटी अध्यक्ष, ३ कार्यकाल जिल्ला कमिटी सदस्य हुँदै हाल भूमि आयोग सर्लाहीको पनि सदस्य छन् । साह विगत १३ वर्षदेखि पार्टी संगठनमा सक्रियतापूर्वक काम गर्दै आइरहेका छन् । उनीसहित केही क्लस्टरबाट केही केन्द्रीय सदस्य निर्विरोध भएका छन् । एमालेको नेतृत्व चयनको लागि अहिले मतदान जारी छ ।

 

व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी

घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागतीखेती गरेर नमूना किसानको परिचय बनाएका छन् ।

रासायनिक विषादी प्रयोग नगरी खेतीमा लागेका सिभिल इन्जिनियर उनले यसमा रु एक करोड लगानी गरिसकेका छन् । चार बिघा १० कट्ठाबाट खेती सुरु गरेका ४१ वर्षीय लोहनीले यसलाई छ बिघा विस्तार गरेका छन् ।

उद्यमी लोहनीले सञ्चालन गरेको बगैँचामा ‘सुन कागती–१’ जातका करिब दुई हजारभन्दा बढी बिरुवा रोपिएका छन् । उनी भन्छन्, “सुन कागतीको बिरुवाले सामान्यतया रोपेको तीन वर्षदेखि उत्पादन दिने गर्दछ । हाल कागती जिल्लाको घोराही बजारसँगै काठमाडाँै पनि पठाउने गरेको छ ।”

बगैँचामा १० जनाले रोजगारी पाएका छन् । खेती बढाउने सोचमा रहेका उनले प्रतिकट्ठा वार्षिक रु तीन हजार तिर्ने गरेको बताउँछन् । उनले थोपा सिँचाइ प्रविधि प्रयोग गरेका छन् । तेरौटे गाउँलाई ‘ग्रिन भिलेज’का रूपमा विकास गर्ने उनको लक्ष्य छ ।

काठमाडौँमा अध्यापनसँगै हाइड्रोपावर कम्पनीमा सेवा गरेका उद्यमी लोहनीले भने, “सागसब्जीका तुलनामा कागतीमा रोग सङ्क्रमणको डर कम हुने र उत्पादन पनि अधिक हुने भएकाले कागतीखेतीमा लागेको हुँ ।” गत वर्ष प्रतिकिलो रु एक सय ५० सम्म मूल्य पाएको कागती यस वर्ष रु ८० मा झरे पनि खेतीप्रति निराश हुनुपर्ने अवस्था नरहेको उनी बताउँछन् ।

हर्क साम्पाङले गरे उपाध्यक्ष लामालाई निलम्बन

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका उपाध्यक्ष ‘विश्वक्रान्ति’ भनिने राजकुमार लामालाई निलम्बन गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले लामालाई पक्राउ गरेपछि साम्पाङले बुधबार बिहान फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै निलम्बनको निर्णय सार्वजनिक गरेका हुन् । धनकुटा घर भई हाल काठमाडौंको कपनमा बस्दै आएका लामामाथि २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम विष्फोट गराएको आरोप छ ।

सोही मुद्दाका कारण उनलाई पुनः पक्राउ गरी अनुसन्धानका लागि पाँचथर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजकुमार लामा कुमार, विश्वक्रान्ति र देवराज लामा गरी तीन उपनामबाट परिचित छन् । भिडिओ सन्देशमार्फत अध्यक्ष साम्पाङले लामाको विगत पृष्ठभूमीबारे आफू अनविज्ञ रहेको बताएका छन् । ‘मैले बुझेको चाहिँ उहाँ माओवादी पार्टीमा आबद्ध भएर लामो समयसम्म विभिन्न राजनीतिक दल र अभियानहरूमा संलग्न हुँदै आउनु भएको भन्ने मात्र हो,’ साम्पाङले भने । साम्पाङले लामामाथि निष्पक्ष छानबिन गर्न आग्रह गर्दै भने, ‘उहाँ निर्दोष ठहर भएर बाहिर ननिस्कुञ्जेलसम्म पार्टीको पदबाट निलम्बन गरिएको जानकारी गराउन चाहन्छु ।’

 

 

 

 

 

वाग्मतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

वाग्मती ।  वाग्मती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८.४१ प्रतिशत खर्च भएको छ ।

चालु आव २०८२/८३ का लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट पारित भएको थियो । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोेकसेवा आयोगले २९.९० प्रतिशत, प्रदेशसभा सचिवालयले २७ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले २३.६७ प्रतिशत, स्वास्थ्य मन्त्रालयले २०.४५ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १९.०४ प्रतिशत र श्रम, रोजगार तथा यातायात मन्त्रालयले १९.५५ प्रतिशत बजेट खर्च गरेको छन् । सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १.४८ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रधानमन्त्रीलाई ‘आमा’ भन्ने जेनजीहरुले स्वर परिवर्तन गर्न थाले : मेयर महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आपत्ति जनाएका हुन् ।

उनले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावननाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताए । तर जेनजीहरुले पछिल्लो समय निर्वाचन हुनै नदिने भनेर स्वर निकालिरहेको बताए । यस्तो गर्न नपाइने मेयर महर्जनको भनाइ छ । निर्वाचन हुनैपर्ने र निर्वाचन सफलीभुत बनाउने काममा जेनजीहरुले पनि सहयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्री ज्युको जुन सरकार छ, यसको खास काम भनेको फागुन २१ गतेको चुनाव सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो । तर अलिकति मलाई चिसो परिरहेको छ की, जेनजीले आमा भन्नु हुन्छ । भनिरहेको पनि छ । तर पछिल्लो कालखण्डमा आएर स्वर परिवर्तन गरेको छ । चुनाव हुन दिँदैनौँ भनिरहेको छ । यो भन्न पाइँदैन । चुनाव गर्नैपर्छ । चुनाव गरेर यो सरकार डिरेल भइरहेको अवस्था जुन छ, त्यसलाई रेलमा ल्याउने जुन प्रकारको मुख्य दायित्व छ, त्यो काममा सफलीभुत बनाउनै पर्छ ।’ महानगर प्रमुख महर्जनले जेनजीहरुको बुद्धि पलाउन बाँकी रहेको र निर्वाचन सफलीभुत गराउन सहयोग गर्नैपर्ने बताए ।

 

 

 

नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छिन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको बताउँदै सुशासन र निर्वाचन आफूहरुको मुख्य एजेण्डा भएको बताइन् ।

आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको उनले बताइन् । उनले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरिन् । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन एक मात्र विकल्प भनेको निर्वाचन रहेको बताइन् ।

उनले भनिन्, ‘गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको यहाँहरुलाई विदितै छ । हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेण्डामा केन्द्रित छौँ । आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेका छौँ । निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ ।’

उनले भनिन्, ‘त्यसैले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो । म थप स्पष्ट पार्न चाहन्छु, समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनु हुँदैन । शान्ति खल्बल्याउने, कानून हातमा लिने जस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ । खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुन्छ। आउनुहोस्, यसमा हातेमालो गरौँ ।’

प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनु नहुने बताइन् । शान्ति खल्बल्याउने, कानून हातमा लिने जस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको पनि बताइन् । खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि भुमिका उत्तिकै महत्वपूर्ण हुने उनले बताइन् ।

 

 

 

 

भेनेजुएलामाथि तेल ट्याङ्कर अवरुद्ध गर्न ट्रम्पको आदेश

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने सबै ‘प्रतिबन्धित तेल ट्याङ्करहरू’ अवरुद्ध गर्ने आदेश जारी गरेका छन् । यस घोषणासँगै उनले भेनेजुएलाको कच्चा तेलमा अमेरिकाको पहुँचसम्बन्धी नयाँ मागहरू अघि सार्दै काराकासविरुद्धको दबाब अभियानलाई अझ तीव्र बनाएका छन् ।

ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध लड्ने उद्देश्य देखाउँदै तर भेनेजुएलालाई विशेष रूपमा लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले महिनौँदेखि क्यारिबियन क्षेत्रमा ठूलो सैन्य तैनाथी विस्तार गर्दै आएको छ । काराकासले यस अभियानलाई वामपन्थी शक्तिशाली राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाउने प्रयासका रूपमा व्याख्या गर्दै आएको छ । मदुरोलाई वासिङ्टनसहित धेरै देशले अवैध राष्ट्रपति मान्दै आएका छन् । साथै, भेनेजुएलाले यसलाई आफ्नो तेल ‘चोर्ने’ योजनाका रूपमा पनि हेरेको छ ।

देशको हवाई क्षेत्रलाई ‘बन्द’ मानिनुपर्ने र ‘भूमिमा लागुऔषध तस्करी रोक्ने’ प्रयासहरू चाँडै सुरु हुने घोषणा गर्दै राष्ट्रपति ट्रम्पले भेनेजुएलाभित्र सैन्य कारबाहीसमेत हुनसक्ने आशय व्यक्त गरेपछि पछिल्ला हप्ताहरूमा दुवै देशबीच तनाव उल्लेखनीय रूपमा बढेको छ ।

गत हप्ता संयुक्त राज्य अमेरिकाले भेनेजुएलाबाट बाहिरिएको एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो भने भेनेजुएलाको तेल उद्योगसँग सम्बन्धित अन्य धेरै जहाज तथा कम्पनीहरूमाथि नयाँ प्रतिबन्धको घोषणा गर्दै अभियानमा थप कडाइ गरेको थियो ।

“आज म भेनेजुएलाभित्र र बाहिर जाने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूलाई पूर्ण रूपमा अवरुद्ध गर्ने आदेश दिन्छु”, राष्ट्रपति ट्रम्पले मङ्गलबार साँझ आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत लेखेका छन् । क्यारिबियन क्षेत्रमा तैनाथ विश्वकै सबैभन्दा ठूलो विमानवाहकसहितका धेरै नौसेना र समुद्री सेनाको उल्लेख गर्दै उनले चेतावनी दिएका छन्, “भेनेजुएला अहिले दक्षिण अमेरिकाको इतिहासमै भेला भएको सबैभन्दा ठूलो नौसैनिक बेडाले घेरिएको छ ।”

भेनेजुएलाको अर्थतन्त्र कच्चा तेल निर्यातमा अत्यधिक निर्भर रहेकाले तेल क्षेत्रलाई कमजोर पार्ने यस्ता कदमले राष्ट्रपति मदुरोमाथि थप दबाब सिर्जना गर्ने अनुमान गरिएको छ । तर मङ्गलबार राष्ट्रपति ट्रम्पले भेनेजुएलाको तेल उत्पादनमा अमेरिकाको पहुँच पुनः प्राप्त गर्ने लक्ष्य पनि स्पष्ट पारेका छन् ।

भेनेजुएलाले ‘हामीबाट पहिले चोरेका सबै तेल, भूमि र अन्य सम्पत्तिहरू संयुक्त राज्य अमेरिकालाई फिर्ता नगरेसम्म’ अमेरिकी नौसैनिक बेडा अझ ठूलो बन्दै जाने उनको भनाइ थियो । उनले कुन तेल वा भूमिको कुरा गरेका हुन भन्ने स्पष्ट नगरे पनि सन् १९७० को दशकमा भेनेजुएलाले आफ्नो तेल उद्योग राष्ट्रियकरण गरेको तथ्यलाई यस सन्दर्भमा स्मरण गराइएको छ । त्यसपछि राष्ट्रपति मदुरोका पूर्ववर्ती ह्युगो चाभेजको नेतृत्वमा विदेशी कम्पनीहरूलाई भेनेजुएलाको राज्य स्वामित्वको तेल कम्पनी पिडिभिएसएलाई बहुमत नियन्त्रण दिन बाध्य पारिएको थियो ।

विशेष प्रतिबन्ध छुट अन्तर्गत अझै पनि भेनेजुएलामा सञ्चालनरत अमेरिकी कम्पनी सेभरोनका प्रवक्ताले मङ्गलबार कम्पनीको गतिविधि ‘कुनै अवरोधबिना र लागू कानून तथा नियमहरूको पूर्ण पालना गर्दै निरन्तर रूपमा चलिरहेको’ जानकारी दिएका छन् ।

काराकासले भने राष्ट्रपति ट्रम्पको घोषणाको कडा निन्दा गर्दै उनको उद्देश्य ‘हाम्रो मातृभूमिको सम्पत्ति चोर्ने’ रहेको आरोप लगाएको छ । भेनेजुएलाले विगतका वर्षहरूमा अमेरिकी तेल प्रतिबन्धलाई बेवास्ता गर्दै कालो बजारमार्फत छुट मूल्यमा कच्चा तेल बिक्री गर्दै आएको छ, जसको मुख्य खरिदकर्ता चीन रहेको छ ।

पेट्रोलियम निर्यातक देशहरूको सङ्गठन ९ओपेक० का अनुसार भेनेजुएलामा करिब ३०३ अर्ब ब्यारेल तेल भण्डार रहेको अनुमान गरिएको छ, जुन विश्वका अन्य कुनै पनि देशभन्दा बढी हो ।

“यदि तेल निर्यात रोकियो भने यसले विदेशी मुद्रा बजार र देशको आयात क्षमतामा गम्भीर असर पार्नेछ र त्यसले आर्थिक सङ्कट निम्त्याउन सक्छ”, भेनेजुएलाको परामर्शदाता संस्था ओरिनोको रिसर्चका एलियास फेररले हालै एएफपीलाई बताएका थिए । उनका अनुसार मन्दी मात्र नभई, खाद्य तथा औषधिको अभावसमेत देखिन सक्छ, किनकि आयात गर्न देश असमर्थ हुनेछ ।

पेन्टागनले भने ट्रम्प प्रशासनअन्तर्गत विदेशी आतङ्कवादी सङ्गठनका रूपमा तोकिएका लागुऔषध गिरोहहरूलाई लक्षित गरिएको दाबी गर्दै ‘साउदर्न स्पियर’ नाम दिइएको आफ्नो अपरेसनको बचाउ गरेको छ । अमेरिकी सेनाले अहिलेसम्म अन्तर्राष्ट्रिय जलक्षेत्रमा लागुऔषध तस्करीमा संलग्न डुङ्गाहरूमाथि मात्र कारबाही गरेको बताइए पनि ती कारबाहीमा कम्तीमा ९५ जनाको मृत्यु भइसकेको छ, जसलाई धेरै विश्लेषकहरूले गैरन्यायिक हत्या भनेका छन् ।

यसैबीच ट्रम्प प्रशासनले भेनेजुएलाको कथित समूह ‘कार्टेल डे लस सोल्स’लाई आतङ्कवादी सङ्गठन घोषणा गर्दै राष्ट्रपति मदुरो नै यसको नेता भएको आरोप लगाएको छ । “हाम्रो सम्पत्ति चोरी, आतङ्कवाद, लागुऔषध तस्करी, मानव बेचबिखनलगायतका गतिविधिका कारण भेनेजुएलाको शासनलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गरिएको हो”, राष्ट्रपति ट्रम्पले स्पष्ट पारेका छन् ।

एमाले महाधिवेशन : तीन घण्टामा साढे ३०० खस्यो मत, नतिजा आउन कति समय लाग्ला ?

काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा बिहान साढे ११ बजेसम्ममा साढे तीन सय मत खसेको छ । एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिलेसम्म ३०० मत खसिसकेको जानकारी दिएका हुन् । गौतमका अनुसार काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो । एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरु छन् ।

यस हिसाबले मतदान सकिएर नतिजा आउन आज मध्यरातसम्म लाग्ने अनुमान छ । यही रफ्तारमा मतदान भए अबको १० घण्टामा मतदान सकिने अनुमान गरिएको छ । मतदानको सुरुवात शीर्ष नेताहरुले गरेका थिए । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदान सुरु गरेका थिए । उनीहरु प्यानलसहित प्रतिष्पर्धामा उत्रिएका छन् । एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेशिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेशिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।

भोटिङ मेशिन हुँदा पनि मतदान ढिला : प्यानलको लिस्ट लैजान पाइने, मोबाइल निषेध

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा विद्युतीय मेसिनमार्फत मतदान भइरहेको छ । आधुनिक प्रविधि प्रयोग गरिए पनि मतदान प्रक्रिया भने अपेक्षाकृत ढिलो भइरहेको गुनासो प्रतिनिधिहरूको छ । मतदानमा एक पटकमा ५० जनालाई सहभागी गराइएको छ। मतदानस्थल प्रवेश गर्नुअघि प्रतिनिधि कार्ड स्क्यान गर्नुपर्छ, भित्र छिरेपछि सोही कार्ड प्वाल पारिन्छ । त्यसपछि प्रतिनिधि भोटिङ मेशिनसम्म पुग्छन् ।

मतदानस्थलभित्र मोबाइल लैजान कडाइका साथ रोक लगाइएको छ, तर दुवै प्यानलका उम्मेदवारको सूची भने साथमा लैजान दिइएको छ । भोटिङ मेशिनमा सबै पदका उम्मेदवारको फोटो र नामसहित सूची राखिएको छ । प्रतिनिधिले इच्छाएको उम्मेदवारको नाममा दुई पटक थिचेर भोट हाल्नुपर्छ । डबल ट्याप गर्दा भोट फिर्ता हुन सक्ने भएकाले स्क्रिनमा संकेत चिह्न देखिन्छ, त्यसपछि प्रतिनिधिले भोट पुनः हाल्न वा परिवर्तन गर्न पाउँछन् ।

उम्मेदवारको सूची १५ पेजमा विभाजन गरिएको छ । प्रत्येक पेजका सबै उम्मेदवारलाई भोट हालेपछि मात्र अर्को पेजमा जान मिल्छ । कुनै पद छुटेमा मेशिनले आफैं संकेत गर्छ । तर एक पटक अगाडि बढेपछि अघिल्लो पेजमा फर्किन नमिल्ने व्यवस्था गरिएको छ । १९ पदाधिकारीका लागि ४१ जना र ३०१ केन्द्रीय सदस्यका लागि ६ सयभन्दा बढी उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । सबै पदमा मतदान गर्न एक प्रतिनिधिले करिब साढे तीन सय पटक बटन थिच्नु पर्छ । यही कारण मतदानमा समय बढी लागेको प्रतिनिधिहरू बताउँछन् । मतदान गरेर फर्किएका प्रतिनिधिहरूका अनुसार जान्नेहरूलाई पनि २५–३० मिनेट लागिरहेको छ भने नाम सूची खोज्दै भोट हाल्नेहरूलाई ४०–५० मिनेटसम्म समय लाग्ने गरेको छ । अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर

पोखरेलले झण्डै ४० मिनेटमा भोट हालेका थिए भने केही उम्मेदवारले २५–३० मिनेटमै मतदान सकेका छन् । अशक्त र आफैं भोट हाल्न नसक्ने प्रतिनिधिलाई प्राथमिकता दिइएको छ । आवश्यक परेमा सहयोगका लागि आफूले चाहेअनुसार व्यक्ति रोज्न पाउने व्यवस्था पनि गरिएको छ । मतदानका लागि ८० वटा विद्युतीय मेशिन प्रयोगमा छन् । प्रविधिमैत्री व्यवस्था भए पनि धेरै उम्मेदवार र लामो सूचीका कारण मतदान प्रक्रिया ढिलो भएको प्रतिनिधिहरूको अनुभव छ ।

 

 

 

एमालेको प्रचार सामग्रीले कुरूप बन्यो भृकुटीमण्डप क्षेत्र {तस्वीरहरू}

काठमाडौं । नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप उम्मेदवारहरूको प्रचार सामग्रीले कुरूप बनेको छ । भृकुटीमण्डप क्षेत्रको सडकमा यत्रतत्र उम्मेदवारका प्रचार सामग्री छरिएका छन् । जसका कारण सो क्षेत्रको सौन्दर्य नै हराएको छ । उम्मेदवारको पक्षमा भोट माग्न पर्चा, पम्पप्लेट तयार गरिएको छ भने सोही सामग्री जथाभाबी फाल्दा फोहोर बनेको हो । सोही फोहोरलाई बुधवार बिहान काठमाडौँ महानगरको ब्रुमरले सफा गरेको छ । एमालेको महाधिवेशन अन्तर्गत बुधवार बिहानदेखि नेतृत्व चयनका लागि मतदान हुने भनिएको छ ।

हेर्नुस् तस्वीरहरु

काठमाडौं महानरपालिकाबाट पाए ३० हजारभन्दा धेरै विद्यार्थीले छात्रवृत्ति

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरुमा शैक्षिक सत्र २०८१ मा ३० हजार ७७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर प्राप्त गरेका छन् । महानगरपालिकाले छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा छात्रवृत्तिमा ५ हजार ८९५ जनालाई, दलित छात्रवृत्तिमा १ हजार ३२२ जनालाई, अपाङ्ग र आवासीय छात्रवृत्ति ४५५ जनालाई यो अवसर प्राप्त भएको हो । यस्तै संस्थागत विद्यालयहरुमा कक्षा १ देखि १० सम्म १९ हजार ३०६ जना र कक्षा ११ र १२ मा ३ हजार ८०१ जना छात्रछात्राले छात्रवृत्ति प्राप्त गरेका हुन् । शिक्षा विभागले गएको वर्षको प्रगतिहरुका विषयमा जानकारी गराउने क्रममा यो विवरण उपलब्ध गराएको हो ।

यस वर्ष ३९ वटा विद्यालयहरुले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरे । कक्षा १ देखि १२ सम्मका ५६ हजार ३०१ जनालाई निःशुल्क पाठ्यपुस्तक प्राप्त गरे । ५८ हजार ७३९ जना विद्यार्थीले नियमित दिवा खाजा प्राप्त गरे । सेनिटरी प्याड प्रयोग गर्नु पर्ने उमेर समूहका १७ हजार ६८९ जना छात्राले निःशुल्क सेनिटरी प्याड प्राप्त गरे ।

शिक्षातर्फ यस वर्षका लागि ३ अरब २९ करोड ४७ लाख ७७ हजार रुपियाँ बजेट विनियोजन गरिएको थियो । यसको ५३.८ प्रतिशत अर्थात १ अरब ७७ करोड ३४ लाख ४२ हजार रुपियाँ खर्च भयो ।

यसमा आन्तरिकतर्फको नियमित कार्यक्रममा १ अरब ४ करोड ८५ लाख २७ हजार रुपियाँ विनियोजन गरिएकोमा त्यसको ३० प्रतिशत अर्थात् ३१ करोड ५६ लाख ५ हजार रुपियाँ खर्च भयो । गरी खाने शिक्षा महानगरको इच्छा कार्यक्रमका लागि ६० करोड रुपियाँ विनियोजन गरिएकोमा ५ करोड १ लाख ६६ रुपियाँ अर्थात् ८.४ प्रतिशत खर्च भयो । शिक्षा क्षेत्रका स्वर्णिम योजनाका लागि ११ करोड १४ लाख रुपियाँ विनियोजन भएकोमा ४ करोड ३२ लाख अर्थात् ३८.८ प्रतिशत खर्च भयो । संघीय सशर्त अनुदानबाट १ अरब ४२ करोड ३४ लाख ५० हजार रुपियाँ प्राप्त भएकोमा यसको ९२.९ प्रतिशत अर्थात १ अरब ३२ करोड २२ लाख रुपियाँ खर्च भयो ।

पुस्तकरहित शुक्रबार कार्यक्रमअन्तर्गत कक्षा ४ देखि ८ सम्मका १८ हजार २१८ जना छात्रछात्रा सहभागी भए । शिक्षामा सिप कार्यक्रम अन्तर्गत ५ हजार ११ जनाले कक्षा सम्पन्न गरे । ७७ वटा विद्यालयमा प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति गरियो । सुन्दर विद्यालय निर्माणका लागि ८२ वटा विद्यालयलाई अनुदान प्रदान गरियो । यस्तै १ हजार ४३ जना शिक्षकहरुको क्षमता विकास कार्यक्रम सम्पन्न भयो ।

प्रारम्भिक बाल विकास केन्द्रको स्तरोन्नति भएपछि बाल भर्नामा आकर्षण बढेको, एसईई परीक्षामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या बढेको, पुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे) कार्यक्रमबाट बालबालिकाको सिर्जनात्मकता र सिप विकासमा वृद्धि भएको, सुन्दर विद्यालय परियोजनामार्फत विद्यालयहरुको भौतिक तथा वातावरणीय अवस्थामा सुधार भएर विद्यालयहरु स्वच्छ, सफा र हरियाली हुँदै जानुलाई विभागले प्रगति मानेको छ ।

यस्तै दिवा खाजा तथा छात्राका लागि सेनिटरी प्याड वितरण गरेपछि विद्यार्थीहरुको उपस्थिति संख्या बढेको, कक्षाहरु सूचना प्रविधिमा आधारित हुँदै गएको, प्राविधिक धारमा अध्ययन गर्न चाहनेहरुका लागि विद्यालय स्तरबाटै पहुँच पुगेको, नियमानुसार संस्थागत विद्यालयहरुले प्रदान गर्नु पर्ने छात्रवृत्ति पूर्ण कार्यान्वयन यस वर्षका मुख्य उपलब्धि हुन्, विभागले भनेको छ ।

महानगरपालिकाभित्र आधारभूत विद्यालय २६ वटा, माध्यमिक विद्यालय ५८ वटा, विशेष विद्यालय ४ वटा, वैकल्पिक विद्यालय २३ वटा, धार्मिक विद्यालय ११ वटा, सामुदायिक सिकाइ केन्द्र २८ वटा, संस्थागत विद्यालय ४२५ वटा गरेर जम्मा शैक्षिक संस्थाहरु ७८४ वटा छन् ।

प्रारम्भिक बाल विकास केन्द्रमा ५ हजार ३३२ जना विद्यार्थीले अध्ययन गरे । आधारभूत तहअन्तर्गत कक्षा १ देखि ५ सम्म १६ हजार ५५२ जना र कक्षा ६ देखि ८ सम्म १४ हजार २१३ जना विद्यार्थीले अध्ययन गरे । माध्यमिक तहअन्तर्गत कक्षा ९ र १० मा १२ हजार ८९६ जनाले र कक्षा ११ र १२ मा १२ हजार ६४० जना र स्रोत कक्षामा ४५५ जना विद्यार्थीले अध्ययन गरे ।

यस वर्ष सामुदायिक विद्यालयहरुमा ६२ हजार ८८ जना र संस्थागत विद्यालयहरुमा २ लाख २१ हजार ६४४ जना गरी २ लाख ८३ हजार ७३२ जना विद्यार्थीले अध्ययन गरे ।

महानगरपालिकाभित्र २०९ जना सहजकर्ता, ८७ जना आया, ८७ जना विद्यालय सहयोगी, ५८ जना विद्यालय सहायक कर्मचारी, ७०५ जना प्राथमिक शिक्षक, ४३७ जना निम्न माध्यमिक शिक्षक, माध्यमिक तह कक्षा ९ र १० का लागि ४०५ जना, कक्षा ११ र १२ का लागि ४३ जना, प्राविधिक धारका प्रशिक्षक ९९ जना, भाषा सहायक १७३ जना गरी २ हजार ३०३ जना जनशक्ति छन् ।

राष्ट्रियता रक्षा गर्न ओलीको विकल्प छैन : पदम गिरी

काठमाडौं । नेकपा एमाले नेता पदम गिरीले देशको राष्ट्रियता संकटासन्न रहेको भन्दै एमालेमा केपी ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधवार नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देश संकटासन्न अवस्थामा रहेको, संविधानको रक्षा गर्नुपर्ने, मुलुकको राष्ट्रियताको रक्षा गर्नुपर्ने भएकाले एमालेमा दृढ र बलियो नेतृत्वको आवश्यकता रहेको बताए । यस समयमा केपी ओलीको नेतृत्वमा अघि बढ्नु पर्छ भन्ने हिसावले सबै प्रतिनिधिको मानसिकता तयार रहेको बताए । उनले ११ औं महाधिवेशन भव्य र सभ्य रुपले सम्पन्न भइरहेको बताए ।

उनले भने, ‘यो महाधिवेशन अत्यन्त भव्य र सभ्य रुपले सम्पन्न हुँदैछ । आफ्नो नेता चयन गर्ने कुरामा महाधिवेशन प्रतिनिधिहरु लाइनमा लागेर खुशीयालीको वातावरणमा अभिमतमार्फत आफ्नो नेता चयन गर्दै हुनुहुन्छ । यसले पनि ११ औं महाधिवेशनमा ऐतिहासिक नै भएको छ । सबै कुरा नियमित रुपमा भइरहेको छ । मुलुक अत्यन्तै अफ्ठ्यारो स्थितिमा छ ।’

उनले भने, ‘लोकतन्त्रमाथि एक किसिमको आक्रमण भइरहेको छ । संविधानको रक्षा गर्नुपर्ने स्थिति छ, मुलुकको राष्ट्रियता संकटको स्थितिमा छ । यस्तो परिस्थितिमा एमालेमा दृढ र बलियो नेतृत्वको आवश्यकता छ । यो नेकपा एमालेको मात्रै महाधिवेशन होइन, सिंगो राष्ट्रको हो । केपी ओलीको नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने हिसावले सबै प्रतिनिधिको मानसिकता देखिएको छ ।’ नेता गिरीले नयाँ अनुहार केन्द्रिय कमिटीमा देखिने बताए ।

 

 

टनकपुर व्यारेजबाट नेपालले छिट्टै सिँचाइका लागि पानी पाउने छ : मन्त्री घिसिङ

कञ्चनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले महाकाली सिँचाइ आयोजनाका लागि टनकपुर ब्यारेजबाट छिट्टै पानी उपलब्ध हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली सिँचाइको तेस्रो चरणको भौतिक प्रगति निरीक्षण गर्न बुधबार कञ्चनपुरको ब्रह्मदेव पुगेका मन्त्री घिसिङले पानी छोड्ने विषयमा भारतीय पक्षसँग आवश्यक समन्वय भइरहेको बताएका हुन् ।

टनकपुर ब्यारेजको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले नेपालतर्फ सिँचाइ सुविधा पुर्‍याउन भारतसँग कूटनीतिक र प्राविधिक दुवै तहमा पहल भइरहेको जानकारी दिए । ‘पानी छोड्ने विषयमा दुई देशका संयन्त्र एवं द्विपक्षीय भेटघाटमा निरन्तर छलफल र पत्राचार भइरहेको छ,’ मन्त्री घिसिङले भने, ‘नेपालतर्फ मुख्य र शाखा नहरहरू निर्माण भइसकेकाले भारतबाट पानी छोड्ने निर्णय आउनेमा हामी विश्वस्त छौं ।’

नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिअनुसार नेपालले सिँचाइका लागि हिउँदयाममा तीन सय क्युसेक र वर्षायाममा एक हजार क्युसेक पानी पाउने व्यवस्था छ । सोही सन्धिबमोजिम पानीको उपयोग गर्न नेपालतर्फ आवश्यक संरचनाहरू तयार भइसकेका छन् । कञ्चनपुरका सुक्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा पुर्‍याउन सकिने अवस्था रहे पनि मूल नहरमा पानी नहुँदा किसानहरू आकासे पानीको भर पर्न बाध्य छन् । परियोजनामा हालसम्म करिब ९ अर्ब रुपैयाँ लगानी भइसकेको छ । तर, अर्बौं लगानी गरेर संरचना तयार हुँदा पनि प्रतिफल प्राप्त नभएको भन्दै स्थानीय स्तरमा आलोचना हुने गरेको छ । लामो समयसम्म पानी सञ्चालन नहुँदा निर्मित संरचनाहरू समेत बिग्रिन थालेको आयोजना पक्षले जनाएको छ ।

महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार र भूमिगत सिँचाइबाट ५ हजार गरी कुल ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने सरकारको लक्ष्य छ । आयोजनाको कुल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ । तयार भइसकेका संरचनाको प्रतिफल किसानले छिट्टै पाउने गरी सरकारले नतिजामुखी पहल गरिरहेको मन्त्री घिसिङको भनाई छ ।

ओली र ईश्वर दुबै पक्षले मतदातालाई बाँड्यो प्यानलको सूची

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भइरहेको मतदान प्रक्रियासँगै प्यानल राजनीतिले तीव्र रूप लिएको छ । मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै पक्षले आ–आफ्ना प्यानलका उम्मेदवारहरूको सूची वितरण गर्दै मत मागिरहेका छन् ।

मतदानका लागि प्रतिनिधिहरू लामबद्ध भएर पालो कुर्दै गर्दा ओली पक्षका नेताहरूले आफ्ना उम्मेदवारहरूको नाम समेटिएको सूची बाँडिरहेका छन् । ओली र पोखरेलले मतदानस्थल गरिसकेका छन् । यता ईश्वर पोखरेल पक्ष भने मतदान सुरु हुनुअघि नै स्थलमा सक्रिय देखिएको छ । पोखरेल पक्षका नेताहरू लाइनमै बसेका प्रतिनिधिहरूसँग भेटघाट गर्दै आफ्नो प्यानललाई समर्थन गर्न आग्रह गरिरहेका छन् ।

यसैबीच, मतदान चलिरहेकै समयमा ईश्वर पोखरेल प्यानलको संशोधित सूची पनि प्रतिनिधिहरूलाई वितरण गरिएको छ । अन्तिम समयमा केही नाम हेरफेर गर्दै नयाँ सूची तयार पारिएको हो । ओलीको प्यानलमा समावेश नभएका तथा स्वतन्त्र उम्मेदवारी दिएका केही नेताहरूलाई आफ्नो पक्षमा समेट्दै पोखरेल पक्षले रणनीतिक पुनर्संरचना गरेको बुझिएको छ ।

खुला महिला, बागमती प्रदेश महिला, कर्णालीलगायत विभिन्न क्लस्टरका उम्मेदवारहरूमा हेरफेर गरेर ओली पक्षका मतदातालाई आफूतिर तान्ने प्रयास गरिएको स्रोतहरूको भनाइ छ । पदाधिकारी तहमा आवश्यक मत सुनिश्चित गर्न अन्तिम समयसम्म दुवै पक्षले आक्रामक प्रचार र लबिङ गरिरहेका छन् । मतदानस्थलमै प्यानल सूची वितरण र मत माग्ने गतिविधिले एमालेको आन्तरिक प्रतिष्पर्धा कति तीव्र छ भन्ने स्पष्ट देखिएको छ । अब प्रतिनिधिहरूको मतले पार्टीको भावी नेतृत्व र शक्ति सन्तुलन कसको पक्षमा जाने हो भन्ने टुंगो लाग्नेछ ।

एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुने छैन : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले स्वच्छ प्रतिष्पर्धा एमालेले स्वीकारेको विधि भएको बताएका छन् । बुधवार बन्द सत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमाले अहिले पनि जनतको प्रिय पार्टी भएको बताउँदै आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिएर जानसक्ने सामथ्र्य एमालेले मात्रै राख्ने बताए । मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने काम एमालेले गर्ने बताए ।

राजनीतिक स्थायित्वतर्फ लैजाने कार्यभार पूरा गर्नेगरी महाधिवेशनबाट आफूहरु एकतावद्ध हुने बताए । निर्वाचित नेतृत्वले समग्र भावना समेटेर अघि बढ्ने बताए । जुनसुकै प्रहार भए पनि नेकपा एमाले यो मुलुकको स्वाधिनता, लोकतन्त्र, संविधानको पक्षमा दृढताका साथ अघि बढ्ने बताए ।

उनले भने, ‘एमाले जनताको प्रिय पार्टी हो । आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिएर जानसक्ने सामथ्र्य एमालेले राख्नु पर्छ । यस प्रकारको नेतृत्व यो महाधिवेशनबाट आउनेछ । मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने काम गर्नेछ । राजनीतिक स्थायित्वतर्फ लैजाने कार्यभार पूरा गर्नेगरी हामी यो महाधिवेशनबाट एकतावद्ध हुनेछौँ ।’

उनले भने, ‘प्रतिष्पर्धा देखिन्छ, स्वस्थ प्रतिष्पर्धा एमालेले स्वीकारको विधि हो । यसबाट निर्वाचित नेतृत्वले समग्र भावना समेटेर अघि बढ्छ । एमालेमाथि धेरै प्रहार छन्, जुनसुकै प्रहार भए पनि नेकपा एमाले यो मुलुकको स्वाधिनता, लोकतन्त्र, संविधानको पक्षमा दृढताका साथ अघि बढ्छ । प्रतिक्रियावादी शक्तिहरुले एमाले जस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहन्छन्, तथापि हामी देशहितको पक्षमा उभिएका छौँ ।’ नेता बर्तौलाले एमाले फुटोस् र एमालेबाट मान्छे आएपछि पार्टी बनाउँछु भन्दै हिँडेकाहरुको चाहना कहिल्यै पूरा नहुने बताए ।