`

पक्ष–विपक्ष छैन, हामी सबै एमाले : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष, विपक्ष नरहेको बताएका छन् । बुधवार बन्द सत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सबै एमाले भएकाले जित, हार एमालेकै हुने बताए । उनले सबैभन्दा पहिला देश रहेकाले देश रहे मात्रै पार्टी रहने बताए । उनले देश बनाउन राजनीतिक दलहरु रहनुपर्ने बताए । नेकपा एमालेलाई जनताको मन मनमा समेट्नुपर्ने जरुरी रहेको बताए । कार्यकर्ताबाटै नेता बन्ने भएकाले कार्यकताले गरेको फैसला मञ्जुर हुने बताए ।

उनले भने, ‘सबैभन्दा पहिलो कुरा देश हो । देश रहे मात्रै हामीले पार्टी बनाउँछौँ । त्यसपछि मात्रै जनताको समृद्ध नेपाल र सुखी नेपाली पूरा गर्नसक्छौँ । पहिला देश नै हो । देश बनाउन पार्टी बच्नु जरुरी छ । नेकपा एमालेलाई जनताको मनमनमा समेट्नु पर्छ । कार्यकर्ताबाटै नेताहरु बन्ने हो । आवधिक चुनावलाई विश्वास गर्ने पार्टीका नेताहरु हौँ । कार्यकर्ताबाट नेता छानिने कुरा हो । कुन पक्ष, विपक्ष छैनौँ । हामी सबै यहाँ एक पक्ष एमाले नै छौँ । जो राम्रा साथीहरुलाई विश्वास गर्छन्, त्यसैले नेतृत्व गर्दछ ।’ नेता श्रेष्ठले ईश्वर पोखरेल, नेकपा मालेदेखि एमाले बनाउने आर्किटेक्ट भएको बताए। कार्यकर्ताले गरेको फैसलाअनुसार नेतृत्व चयन हुने बताए ।

ओली र ईश्वरले मतदान गर्न कति लगाए समय ?

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा विद्युतीय मेशिनमार्फत मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिला गरी बिहान साढे ९ बजेदेखि सुरु भएको हो । मतदानस्थलमा ८० वटा भोटिङ मेशिन राखिएका छन् र मतदान सम्पन्न हुन ६ देखि ८ घण्टा लाग्ने अनुमान गरिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु भई करिब २ घण्टाभित्र नतिजा आउने बताइएको छ।

अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेलले लगभग बराबर समय लगाएर मतदान पूरा गरेका छन् । प्राविधिक लक्ष्मण रिमालका अनुसार ओलीले सबै पदमा भोट हाल्न करिब ४० मिनेट समय लिएका थिए भने पोखरेलले पनि झण्डै उस्तै समय खर्च गरेका थिए । उनीहरू दुवैले सँगसँगै मतदान सुरु गरेको र करिब एकै समयमा मतदान सकिएको जनाइएको छ । ओलीले ७७ नम्बर र पोखरेलले ७६ नम्बर भोटिङ मेशिनमा मतदान गरेका थिए । ओली समूहबाट उपाध्यक्षका उम्मेदवार विष्णु पौडेलले करिब २५ मिनेटमा मतदान सकेका थिए भने पोखरेल समूहबाट महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले करिब ३० मिनेट समय लिएका थिए । महासचिवका अर्का प्रत्यासी शंकर पोखरेलले ७५ नम्बर मेशिनमा मतदान गरेका छन् ।

यस महाधिवेशनमा १९ पदाधिकारीका लागि ४१ जना उम्मेदवार प्रतिष्पर्धामा छन् भने ३०१ केन्द्रीय सदस्य पदका लागि ६ सयभन्दा बढी उम्मेदवार मैदानमा छन् । सबै पदमा भोट हाल्न मतदाताले करिब साढे तीन सय पटकसम्म बटन थिच्नुपर्ने भएकाले मतदान प्रक्रिया समयलाग्दो बनेको छ ।

ओली प्यानलबाट उपाध्यक्षमा गुरु प्रसाद बराल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल उम्मेदवार छन् । महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णुप्रसाद रिमाल तथा सचिवमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई र हिक्मत कुमार कार्की उम्मेदवार रहेका छन् ।

पोखरेल प्यानलतर्फ उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा. विन्दा पाण्डे र पर्शुराम मेघी गुरुङ उम्मेदवार छन् । महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, वैजनाथ चौधरी र आनन्द पोखरेल तथा सचिवमा अग्नि खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाल उम्मेदवार बनेका छन् । मतदान प्रक्रियामा अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म सबै पदमा प्रतिष्पर्धा कडा देखिएको छ भने नेतृत्व चयनको अन्तिम नतिजाप्रति कार्यकर्ता र नेताहरूको चासो बढ्दो छ ।

 

 

ज्योति मगर आज पनि एमाले महाधिवेशनस्थलमा : प्रतिनिधि नभए पनि भोट माग्दै

काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा चलिरहेको मतदानबीच मंगलबार एकाएक राजनीतिक माहोलभन्दा फरक दृश्य देखियो । अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलबीचको कडा प्रतिष्पर्धाले तातेको वातावरणमा चर्चित लोकदोहोरी गायिका तथा मोडल ज्योति मगर भने प्रतिनिधिहरूको लामै लाइनमा पुगेर भोट माग्दै व्यस्त देखिइन् ।

मतदानस्थलमा कडाइका साथ सुरक्षा व्यवस्था गरिएको र पास बिनालाई प्रवेश निषेध गरिएको भनिए पनि एमाले महाधिवेशनकी प्रतिनिधि नै नभएकी मगर कसरी मतदानको संवेदनशील क्षेत्रसम्म पुगिन् भन्ने प्रश्नले सबैको ध्यान तान्यो । उनी कसको पक्षमा मत माग्दै थिइन् भन्ने प्रष्ट नभए पनि लाइनमा बसेका प्रतिनिधिहरूसँग हाँसी–ठट्टा, भलाकुसारी र आत्मीय संवादमा उनी खुलेरै रमाइरहेकी थिइन् ।

लामो प्राविधिक उल्झनपछि सुरु भएको मतदान प्रक्रियामा ८० वटा भोटिङ मेशिन र लामो लाइनका कारण प्रतिनिधिहरूले ३५ देखि ४० मिनेटसम्म पालो कुर्नुपरेको अवस्था थियो । त्यही बीचमा मगरको उपस्थितिले गम्भीर राजनीतिक वातावरणमा अनपेक्षित ‘स्टार टच’ थपिदियो । कतिपय प्रतिनिधिहरूले यसलाई अनौठो त कतिपयले रमाइलो दृश्यका रूपमा लिए ।

ज्योति मगरको भृकुटीमण्डप उपस्थिती नयाँ भने होइन । उनी हिजो पनि महाधिवेशनस्थल वरपर देखिएकी थिइन् । तर आजको दृश्य फरक थियो—बाहिर सीमित नरही उनी सिधै मतदानका लागि पालो कुरिरहेका प्रतिनिधिहरूकै लाइनमा पुगिन् । यही कारण उनको उपस्थिती चर्चा र कौतुहलको विषय बन्यो । राजनीतिक रस्साकस्सी, सुरक्षा घेराबन्दी र मतदानको चापबीच गायिका मगरको यो ‘लाइन क्याम्पेन’ ले महाधिवेशनको दृश्यलाई केही क्षणका लागि भए पनि हलुका, रंगीन र चर्चित बनाइदियो । भृकुटीमण्डपमा आज राजनीति मात्र होइन, चासो र चर्चाको केन्द्र पनि उनै बनिन् । उनी हिजो पनि एमाले महाधिवेशनस्थल पुगेकी थिइन् ।

 

एमाले महाधिवेशन : मतदानका लागि उम्मेदवार र प्रतिनिधि लाइनमा (तस्वीरहरू)

काठमाडौं । नेकपा (एमाले) को ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा मतदान जारी छ । पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण निर्वाचनमा सहभागी हुन महाधिवेशनका प्रतिनिधि तथा उम्मेदवारहरू बिहानैदेखि मतदान लाइनमा देखिएका छन् । यस पटक एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर मतदान गरिरहेको छ । बुथभित्र प्रवेश गरेपछि निर्वाचन आयोगबाट प्रमाणित टच स्क्रिन मेसिनमा उम्मेदवारहरूको नाम र फोटो देखिन्छ । मतदाताले आफूले रोजेको उम्मेदवारको फोटोमा टच गरेर मत जाहेर गर्छन् ।

मतदान भएपछि सम्बन्धित उम्मेदवारको फोटोमा स्वस्तिक चिन्ह देखिने व्यवस्था गरिएको छ, जसले मत दर्ता भइसकेको संकेत दिन्छ । मतदान प्रक्रिया पदीय मर्यादाक्रमअनुसार अघि बढ्छ । अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारहरूको नाम क्रमबद्ध रूपमा देखाइने भएकाले माथिल्लो पदको मतदान नगरी तल्लो पदमा जान पाइँदैन। सबै पदमा मतदान पूरा भएपछि मेसिनबाट ‘बिप’ आवाज वा अडियो सन्देश आउँछ, जसले मतदान सफल भएको जानकारी दिन्छ ।

महाधिवेशनमार्फत ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ । पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव निर्वाचित हुनेछन् । अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मुख्य प्रतिस्पर्धामा छन् । समग्रमा करिब ६ सय ५० हाराहारी उम्मेदवार चुनावी मैदानमा रहेका छन् भने केही सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

मतदानस्थलमा जम्मा ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएका छन् । एक पटक कुनै मेसिनमा प्रवेश गरेपछि मतदाताले सबै पदका उम्मेदवारलाई सोही मेसिनबाट मतदान गर्नुपर्ने व्यवस्था छ । यद्यपि मतदान प्रक्रिया केही समय लागे पनि मतगणना भने छिटो सम्पन्न हुने अपेक्षा गरिएको छ । सबै मेसिनको मत संख्या संकलन गरी निर्वाचन आयोगले प्रमाणीकरण गर्न करिब ४ देखि ५ घण्टा लाग्ने अनुमान गरिएको छ । भृकुटीमण्डपमा देखिएको लामो लाइन, उम्मेदवार र प्रतिनिधिहरूको सक्रिय सहभागिता तथा विद्युतीय प्रणालीको प्रयोगले यसपटकको एमाले महाधिवेशनलाई विशेष बनाएको छ । नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक यात्रा कस्तो मोड लिन्छ भन्ने चासो पनि उत्तिकै बढेको छ ।

हेर्नुस् तस्वीरहरु

एमाले महाधिवेशन : मतदानका लागि प्रतिनिधिहरु ‘लाइन’ मा

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा सहभागी प्रतिनिधिहरू मतदानका लागि बिहानैदेखि लाइनमा उभिन थालेका छन् ।

यसअघि प्राविधिक तयारी नपुगेको भन्दै पटक–पटक सरेको मतदान अन्ततः तय समयमै सुरु भएको हो । केन्द्रीय सदस्यका उम्मेदवार तथा वर्तमान स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार सबै प्राविधिक तयारी राति नै पूरा भएकाले मतदान समय सार्नुपर्ने अवस्था रहेन । उनका अनुसार विद्युतीय भोटिङ मेशिनमार्फत मतदान हुँदैछ ।

भृकुटीमण्डपको मुख्य हल बुधबारका लागि अन्य प्रयोजनमा बुक भएकाले मतदानस्थल भने परिवर्तन गरिएको छ। महाधिवेशनको बन्द सत्र भएको स्थानमै मतदानको व्यवस्था मिलाइएको हो। एमालेका लागि २ हजार २६२ जना प्रतिनिधि छनोट भइसकेका छन्, जसले आज मतदानमा भाग लिँदै छन्।

यस पटक एमालेले ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको छ। रामलक्ष्मण इनोभेसन प्रालिले निर्माण गरेको उक्त मेसिन अघिल्ला महाधिवेशनमा जस्तै यसपटक पनि प्रयोगमा ल्याइएको हो। कम्पनीका प्राविधिक लक्ष्मण रिमालका अनुसार सबै उपकरणमा डाटा इन्ट्री सम्पन्न भइसकेको छ र मतदानका लागि तयारी अवस्थामा राखिएको छ। मतदान गर्न एक जना मतदातालाई करिब ३५ देखि ४० मिनेट समय लाग्ने अनुमान गरिएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु हुने र करिब दुई घन्टाभित्र परिणाम सार्वजनिक हुने जनाइएको छ।

महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ। पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव निर्वाचित हुनेछन्। नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।

पाँच जना उपाध्यक्षका लागि अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन्। महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच प्रतिस्पर्धा भइरहेको छ।
त्यस्तै उपमहासचिवका तीन पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार बनेका छन्।

सचिवका नौ पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की प्रतिस्पर्धामा छन्। एमालेको ११औँ महाधिवेशनबाट आउने नयाँ नेतृत्वले आगामी राजनीतिक दिशा तय गर्ने भएकाले आजको मतदानलाई चासोका साथ हेरिएको छ।

एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव, मतदानस्थल परिवर्तन

काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान हुने भएको छ । मंगलबार साँझ नै मतदान गर्ने तयारी भए पनि प्राविधिक कारण र मतदानस्थलको व्यवस्थापनका कारण प्रक्रिया स्थगित गरी बुधबार बिहानका लागि सारिएको हो ।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार साँझ ७ बजेदेखि नै महाधिवेशन प्रतिनिधिहरू मतदानका लागि लाइनमा बसेका थिए । अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल समेत मतदानस्थलमा उपस्थित थिए । तर करिब सवा ८ बजे महासचिव शंकर पोखरेलले प्राविधिक समस्या र मौसमको चिसोपनका कारण मतदान भोलि बिहानसम्मका लागि स्थगित गरिएको जानकारी गराएका थिए ।

एमालेले यस पटक पनि रामलक्ष्मण इनोभेसन प्रालिले निर्माण गरेको विद्युतीय भोटिङ मेशिन प्रयोग गर्दैछ । ८० वटा इलेक्ट्रोनिक भोटिङ मेशिनमार्फत २ हजार २६२ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । प्राविधिक लक्ष्मण रिमालका अनुसार उम्मेदवारहरूको विवरण, मतदाता नामावली, क्लस्टर व्यवस्थापन जस्ता डाटा इन्ट्री समयमै पूरा गर्न नसकिएकाले मतदान सुरु गर्न ढिलाइ भएको हो । अहिले भने सबै डाटा इन्ट्री सकिएर उपकरण तयारी अवस्थामा पुगेको उनले बताएका छन् ।

मतदानस्थल पनि परिवर्तन गरिएको छ । मंगलबार मेशिन राखिएको हल बुधबार बिहान खाली गर्नुपर्ने भएकाले भृकुटीमण्डप परिसरभित्रै अर्को हलमा मेशिन सारेर मतदान गरिनेछ । एक जना मतदातालाई मतदान गर्न करिब ३५ देखि ४० मिनेट लाग्ने अनुमान गरिएको छ । मतदान सकिए लगत्तै मतगणना सुरु हुने र विद्युतीय प्रणाली भएकाले करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने एमालेले जनाएको छ ।

महाधिवेशनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, नौ सचिव र ३०१ केन्द्रीय सदस्य चयन हुनेछन् । अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुँदैछ । दुवै नेताले आ–आफ्नो प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

पाँच उपाध्यक्ष पदका लागि अरूण नेपाल, गुरुप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन् । महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे प्रतिष्पर्धामा छन् । त्यसैगरी उपमहासचिव पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन्।

सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की प्रतिष्पर्धामा छन् । प्राविधिक तयारी पूरा भएसँगै आजको मतदानले एमालेको नयाँ नेतृत्व चयनको बाटो खोल्ने अपेक्षा गरिएको छ ।

एमालेको मतदान स्थगित, भोलि विहान ८ बजेबाट हुने

काठमाडौं । नेकपा एमालेको मतदान स्थगित भएको छ । भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । प्रतिनिधिहरू भोट हाल्न २ घण्टाअघिदेखि लाइन बसेका थिए ।

९ बजेलाई मतदानको समय तोकिएको थियो । तर, अन्तिममा आएर प्राविधिकरण कारण मतदान स्थगित भएको बताइएको छ । मतदान स्थगित भएसँगै प्रतिनिधि र उम्मेदवारहरू तितिरबितर भएका छन् । आज बिहान १० बजेदेखि नै मतदानको समय तोकिएकोमा विद्युतीय मेसिनमा उम्मेदवारको विवरण प्रविष्टमा प्राविधिक समस्या देखिएको बताइएको छ । सुरूमा अल्फाबेटिकल अर्डर र पछि फन्टको समस्या भएको बताइएको छ ।

ह्विलचियर बन्जी जम्प गरेर जन्मदिनमा दीपाले रचिन् साहसिक इतिहास

नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले बन्जी जम्प गरेर साहस र आत्मविश्वासको उदाहरण प्रस्तुत गरेकी छन् । सिन्धुलीकी दीपा देवकोटाले सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपाङ्गता बाधा होइन, अवस्था मात्रै हो भन्ने सन्देश दिएकी छिन् ।  

‘स्पाईनल बाईफिडा’ नामक शारीरिक अपाङ्गता हुँदाहुँदै पनि ह्विलचेयरसहित बन्जी जम्प गरेर उनले समाजमा व्याप्त नकारात्मक सोचलाई चुनौती दिएकी छन् । उनी एक सक्रिय अपाङ्गता अधिकारकर्मी हुन् र अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न सामाजिक कार्यमा समेत सक्रिय छिन् ।  अपाङ्गता भएका व्यक्तिहरू पनि समाज, समुदाय र राष्ट्रका हरेक गतिविधिमा समान रूपमा सहभागी हुन सक्षम छन् भन्ने सन्देश दिनकै लागि आफूले बन्जी जम्प गरेको उनको भनाई छ । 

 ‘अपाङ्गता कमजोरी होइन, आत्मबल र अवसर पाएमा हामी पनि सबै क्षेत्रमा अघि बढ्न सक्छौँ,’ देवकोटा भन्छिन्, ‘मेरो यो प्रयासले अन्य अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छु ।’

नेपालमा साहसिक पर्यटनको क्षेत्र तीव्र गतिमा विस्तार भइरहेको अवस्थामा देवकोटाको यो साहसिक कदमले अपाङ्गता भएका व्यक्तिहरूका लागि साहसिक खेलकुद र पर्यटन क्षेत्र पनि पहुँचयोग्य हुनुपर्छ भन्ने मुद्दा लाई थप बल दिएको छ ।  उनले आफ्नो जन्मदिन पारेर यो साहसीक इतिहास रचेकी हुन् ।

उनी भन्छिन्, ‘मेरो जन्मदिने आमा बुबालाई यो समाजले अपाङ्गता भएको सन्तान जन्माएको भन्दै सामाजिक र मानसिक रुपमा विभेद गरिरहँदा म मेरो उहाँहरूलाई धन्यवाद दिन चाहन्छु ।अपाङ्गताले मेरो जीवनको कुनैपनि अध्यायलाई रोक्नेछैन।’ 

   

गण्डकीका दुई औद्योगिक क्षेत्रको ‘इआइए’ स्वीकृत

गण्डकी ।  गण्डकी प्रदेश सरकारले कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन(इआइए) स्वीकृत गरेको छ ।

‘इआइए’ स्वीकत गरेसँगै औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको भोगाधिकार लिने प्रक्रिया अगाडि बढेको छ । परामर्शदाता कम्पनी गौमुखीले ‘इआइए’को जिम्मा पाएको थियो । ‘इआइए’को प्रक्रिया लम्बिँदा औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भएको थियो । आठ वर्षअघि प्रदेश सरकारले पुँडीटार र लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेको थियो । प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको उद्योग–वाणिज्य महाशाखाका प्रमुख महराज ढकालले दुवै जिल्लाका डिभिजन वन कार्यालयसँगको समन्वयमा औद्योगिक क्षेत्र निर्माणस्थलमा काट्नुपर्ने रुखको गणना भइरहेको जानकारी दिएका छन् ।

प्रस्तावित दुवै औद्योगिक क्षेत्रको जग्गा सामुदायिक वन क्षेत्रभित्र पर्छ । “औद्योगिक क्षेत्र निर्माण गर्दा काट्नु पर्ने रुखको गणनासहित क्षेत्रफल यकिन गरेर सङ्घको वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पठाउँदैछौँ”, उनले भने, “वन तथा वातावरण मन्त्रालयबाट प्रस्ताव स्वीकृत भएपछि सङ्घीय मन्त्रिपरिषद्बाट जग्गा भोगाधिकार दिने निर्णय हुन्छ ।” सङ्घ सरकारले गण्डकी प्रदेश सरकारलाई जग्गा भोगाधिकार दिने निर्णय गरेपछि औद्योगिक क्षेत्र निर्माण सुरु हुने महाशाखा प्रमुख ढकालले बताएका छन् ।

लोकाहाखोलाको जग्गा चुरे संरक्षण क्षेत्रभित्र पर्ने भएकाले ‘इआइए’को प्रक्रिया पूरा हुन धेरै समय लागेको उनको भनाइ छ । जग्गा प्राप्तिका लागि प्रदेश सरकारले यसअघि नै वन तथा वातावरण मन्त्रालयमा प्रस्ताव पठाएको थियो । वन तथा वातावरण मन्त्रालयको सहमतिपछि सङ्घीय मन्त्रिपरिषद्ले प्रस्तावित औद्योगिक क्षेत्रका जग्गा उपलब्ध गराउने निर्णय गर्ने महाशाखा प्रमुख ढकालले बताए ।

गण्डकी प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका दुई औद्योगिक क्षेत्र निर्माण प्रक्रियालाई अगाडि बढाएको हो । प्रदेश सरकारले पुँडीटारमा रु ५४ करोड र लोकाहा खोलामा रु ७६ करोडको विस्तृत परियोजना प्रतिवेदन
(डिपिआर)समेत तयार पारिसकेको छ । औद्योगिक क्षेत्रलाई आवश्यक जग्गा नापजाँच तथा यकीन भइसकेकाले अब जग्गा उपलब्ध गराउने सम्बन्धमा सङ्घ सरकारको निर्णयको पखाईमा प्रदेश सरकार छ ।

जग्गाको भोगाधिकार आएपछि पुँडीटारमा चार हजार पाँच सय रोपनी र लोकाहाखोलामा १४१ बिघामा औद्यागिक क्षेत्र निर्माण हुने जनाइएको छ । पुँडीटार औद्योगिक क्षेत्रले कास्कीको पोखरा–३३ र तनहुँको शुक्लागण्डकी–९ को केही भू–भागलाई समेट्छ । लोकाहाखोला औद्यागिक क्षेत्र नवलपुरको कावासोती–१ र देवचुली–१० मा स्थापना हुन लागेको हो । पुँडीटारमा केही अव्यवस्थित बसोबास रहेको ठाउँ रहेपनि बस्तीबाहेकको जग्गालाई मात्र समेटेर ‘डिपिआर’ बनाइएको मन्त्रालयले जनाएको छ ।

निर्वाचनबाट किन्तु, परन्तु भनेर पन्छिने अवस्था छैन : रामप्रसाद भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबाट किन्तु परन्तु भनेर पछि हट्ने अवस्था नरहेको बताएका छन् । मंगलवार सरकारसँग निर्वाचन आयोगले गरेको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कसैको कारणले निर्वाचन बिथोलियो भनेर अरुलाई आक्षेप लगाएर मुक्त हुने अवस्था नरहेको भन्दै निर्वाचन गराउन सबै लाग्नुपर्ने बताए । आगामी फागुन २१ गतेका लागि सरकारले तोकेको निर्वाचन विकल्पबिहीन निर्वाचन भएको दाबी गरे ।

उनले हरेक क्षेत्र, तह र तप्काबाट गहन रुपमा लिएर निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेको बताए । सामाजिक सञ्जाललाई कति हदसम्म प्रचारप्रसार गर्न दिने, नकारात्मक प्रचारप्रसार गर्दा कसरी नियन्त्रण गर्ने भन्ने बारेमा सरकारले सोच्न जरुरी रहेको बताए । एआई प्रविधिको दुरुपयोगबारे पनि सरकारले गहन रुपमा छलफल गर्न जरुरी रहेको बताए । उनले भने, ‘शुरुमै हामीले सोसल मिडियालाई कति हदसम्म जान दिने र सोसल मिडियाले कतिसम्म प्रचार गर्न पाउने, सोसल मिडियाले कुनै पनि उम्मेदवारको विरुद्धमा कतिसम्म प्रचार गर्न दिने यदि त्यस्तो नकारात्मक प्रचारप्रसार गर्दा त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने लगायत बारेमा सरकारले सोच्न जरुरी छ । यो विषय अझ जटिल छ ।’

उनले भने, ‘अहिले एआई प्रविधि जुन आएको छ, झन ठूलो जटिलता थपेको छ । यसलाई नियन्त्रण गर्ने उपाय त्यही किसिमको प्राविधिक व्यक्तिहरुलाई समेटेर अघि बढ्न नसके ती विषयहरु जटिल हुन्छन् । निर्वाचन आयोगले निर्वाचनामैत्री वातावरण श्रृष्टि गरेर निर्वाचनको वातावरण बनाउने हो । निर्वाचनका लागि निष्ठाका साथ प्रवेश गर्ने हो । कुनै पक्षबाट त्यसमा विरोधाभाष आयो र विरुद्धमा कुनै प्रतिक्रिया भयो भने त्यसलाई नियन्त्रण गर्ने काम निर्वाचन आयोग, सरकार, राजनीतिक दल, मतदाता, नागरिक समाजका अगुवा सबैको भुमिका हुन्छ । निर्वाचनमा कुनै किन्तु, परन्तु भनेर पछि हट्यो भने मेरो होइन, उसको कारणले निर्वाचन बिथोलियो भनेर अरुलाई आक्षेप लगाएर मुक्त हुने अवस्था हुँदैन । यो गर्नैपर्ने विकल्पविहिन निर्वाचन हो । यसलाई हरेक क्षेत्र, तह र तप्काबाट गहन रुपमा लिनुपर्छ ।’

उनले मतदाता नामावली उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको र पुसको १५ गतेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्ने बताए । सबै राजनीतिक दलहरुसमेत प्रतिष्पर्धामा सहभागी हुनका लागि निर्वाचनको लक्षित दायरामा प्रवेश गरेर निर्वाचनमा जाने बताइसकेकाले निर्वाचनको वातावरण बनिसकेको बताए । मुलुक निर्वाचनमय भइसकेको दाबी गरे । समयमै निर्वाचन हुने र निर्वाचनको विकल्प नभएको बताए ।

 

 

 

 

मन्त्री खरेल भन्छन्, (मुलुक) निर्वाचनमा होमिइसक्यो

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनिसकेको बताएका छन् ।

निर्वाचन आयोगसँग आज भएको छलफलमा उनले समग्र मुलुक निर्वाचनमा होमिएकाले निर्वाचनको उत्सव महोत्सबमा परिणत हुँदै गएको बताएका छन् ।

मन्त्री खरेलले भने, “निर्वाचन आयोगले कार्यतालिका बनाएर सबै सरोकार भएका पक्षलाई निर्वाचनमा समाहित गर्दै गएको छ । संवेदनशील र अलि विशेष र चुनौतीको अवस्थामा पनि आयोगले खेलेको भूमिकाप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद भन्न चाहन्छु ।”

निर्वाचन हुन्छ भन्नेमा सम्बद्ध सबै पक्षलाई विश्वास भएको सरकारको बुझाइ रहेको बताउँदै उनले आयोग, सरकार, सुरक्षा निकाय र राजनीतिक दल पनि आफ्नो तयारीमा लागेको उल्लेख गरेका छन् । “निर्वाचनका लागि मतदाता पनि तयारी अवस्थामा हुनुहुन्छ । छोटो समयमा आठ लाखभन्दा बढीले मतदाता नामावलीमा नाम समावेश गराएको विषय आफैँमा ऐतिहासिक रह्यो”, मन्त्री खरेलले भनेका छन् ।

सबै प्राविधिक, कानुनी र अरु प्रक्रियागत विषयसँगै राजनीतिक विषय पनि त्यतिकै महत्त्वपूर्ण रहेको बताउँदै उनले आयोगले उठाएका विषयलाई आत्मसात् गर्दै सरकारले कानुनमन्त्रीको संयोजकत्वमा संवादका लागि समिति गठन गरेको जानकारी दिएका छन् ।

मन्त्री खरेलले निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्न र मतदाता शिक्षा जनतासम्म पु¥याउनका लागि आयोगसँग हातेमालो गरेर अगाडि बढ्न मन्त्रालय तयार रहेको बताएका छन् ।

गलत सूचना र समाचारको प्रभाव रोक्न प्रेस काउन्सिल नेपाल र मन्त्रालय मातहतका निकायमा सोही अनुसारको व्यवस्था गरिएको जानकारी दिँदै उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्न साइबर ब्यूरो र प्रेस काउन्सिललाई आग्रह गरिएको बताए । उनले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना भए÷नभएको अनुगमन गरिने बताएका छन् ।

सशस्त्रका तीन एआईजीको सरुवा, को कहाँ ?

काठमाडौं । मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायणदत्त पौडेलको मानव स्रोत विभागमा सरुवा गरिएको छ । यसअघि उनी कार्य विभागमा थिए । मानव स्रोतमा रहेका वंशी दाहालको सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । सीमा सुरक्षामा रहेका अर्का एआईजी गणेश ठाडामगरको कार्य विभागमा सरुवा गरिएको छ ।

 

‘सरकारले सांसदहरुको मानहानी गरिरहेको छ’

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सरकारले आफूहरुको मानहानी गर्ने काम गरिरहेको आरोप लगाएका छन् । मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद पदमबहादुर परियार, नेकपा (एमाले) की सांसद सुमित्रा विसी, नेपाली कम्युनिष्ट पार्टीकी सांसद मदनकुमारी साहले सरकारले संसद र सांसदहरुको मानहानी हुनेगरी न्युनतम सेवा, सुविधा समेत कटौति गर्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन् । कांग्रेस सांसद परियारले सरकारले सांसदहरुको खर्च कटौति गरेर आफूहरुले विकासको काम गरेको भन्दै निर्वाचनका लागि राजनीति गरिरहेको आरोप समेत लगाइन् ।

उनले भनिन्, ‘पार्लियामेन्टरिएनहरुको मानहानी गर्ने, यिनीहरु केही पनि होइनन् र केही पनि चाहिँदैन भन्ने तरिकाबाट अहिलेको सरकार जुन जेन—जी जसलाई हामीले पनि सपोर्ट ग¥यौं । तिनीहरुको बलमा बनेको सरकारले जसरी हेरिराखेको । हेरिराखेको मात्रै होइन । यसलाई त पोलिटिकललाईज पनि गर्न खोजिएको छ । चुनाव आउँदैछ, सांसदहरुले कसरी खाए भन्ने देखाएर हामीले कटाएर विकासमा लगायौ भन्ने गरी जनतासँग बेचेर भोट माग्ने काम शुरु गरिसकेको सन्दर्भमा यसलाई विशेष किसिमले हेर्नुपर्छ भन्ने मैले महसुस गरेको छु ।’ नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले राष्ट्रिय सभालाई कमजोर बनाउने काम सरकारले गरिरहेको गुनासो गरिन् । उनले संसद र सांसदहरुको सेवा, सुविधा कटौति गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आक्रोश व्यक्त गरिन् ।

सांसद साहले भनिन्, ‘राष्ट्रिय सभालाई नीति निर्माणमा केन्द्रित गर्नका लागि व्यक्तिगत ढंगले हामी सदस्यहरु, समितिहरु मेहनत गर्नुपर्छ भन्ने मान्यताको आधारमा धेरै पटक हामीले छलफल पनि गरेका छौ, माग पनि गरेका छौँ । चाहे त्यो सरकारसँग होस्, चाहे त्यो हाम्रो सचिवालयसँग होस् । विज्ञहरु हामीलाई चाहिन्छ । त्यो खालको व्यवस्थापन हुनुपर्छ भनेर पनि हामीले भनेका छौँ । त्यो माग गरिरहँदा झन यो सभालाई कमजोर बनाउने गरी कतिपय कटौति भएका कुराहरु छन् । त्यसमा हाम्रो कन्सर्न छ भन्नेकुरा म अनुरोध गर्न चाहन्छु ।’

सांसदहरुले ठूल्ठूलो योजना बनाउने तर त्यसका लागि आवश्यक बजेट नदिएको पनि सरकारप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभएको छ । नेकपा एमालेकी सांसद विसीले सुदूरपश्चिम प्रदेशका ठूल्ठूला आयोजना सम्पन्न हुनेगरी तत्काल आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।
उनले भनिन्, ‘सुदूरपश्चिममा पनि ठूल्ठूला योजनाहरु बनाउने, आश्वासन दिने काम सरकारले गरेको छ । तर बजेट पर्याप्त नपारेका कारणले बन्नु योजनाहरु पनि नबनेको एउटा अप्ठयारो स्थिति त्यहाँ छ । दार्चुलामा १७ किलोमिटरमा तलबाट हुने काम माथिबाट ७० किलोमिटरमा गर्नेगरी त्यो काम अघि बढाइएको पाईयो । जसले गर्दा समयको पनि खर्च, बजेटको पनि खर्च भएको छ । हिजोका दिनमा ती गलत कुराहरु भएपनि अहिलेको सरकारले त्यसलाई सच्याउनु पर्दछ ।’
बैठकमा सुदूरपश्चिम प्रदेशमा सांसदहरुले गरेका अनुगमनको समेत समिक्षा गरिएको थियो ।

 

 

 

 

युक्रेनका लागि वार्ता अघि फ्रान्सले राख्यो कडा शर्त

पेरिस । फ्रान्सले रुससँगको युद्ध अन्त्यका लागि युक्रेनले कुनै भूभाग हस्तान्तरण गर्नुपर्ने विषयमा हुने कुनै पनि वार्ताअघि युक्रेनका लागि ‘बलियो सुरक्षा ग्यारेन्टी’ सुनिश्चित हुनुपर्ने स्पष्ट अडान लिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनको टोलीले मङ्गलबार यस्तो धारणा सार्वजनिक गरेको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत तथा युरोपेली नेताहरूसँग करिब चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ता गरेपछि म्याक्रोनका एक वरिष्ठ सल्लाहकारले भने, “हामी भूभागसम्बन्धी कुनै पनि छलफलमा प्रवेश गर्नु अघि युक्रेनका लागि बलियो सुरक्षा ग्यारेन्टी आवश्यक ठान्दछौँ ।”

स्रोतका अनुसार उनले भने, “ग्यारेन्टीको विषयमा केही प्रगति भएको छ । अमेरिकी समर्थनका रूपमा प्राप्त स्पष्टताका लागि धन्यवाद ।”

बर्लिनमा सम्पन्न वार्ताले युक्रेनका लागि तयार पारिँदै आएको अमेरिकी योजनालाई थप आकार दिइरहेको छ । प्रारम्भिक रूपमा उक्त योजना रुसका लागि अत्यन्तै अनुकूल मानिएको थियो । तर किएभ र युरोपेली साझेदारहरूले सुरक्षा ग्यारेन्टी तथा भूभागको संवेदनशील प्रश्नलाई समेट्दै त्यसमा संशोधन गराउने प्रयास गरिरहेका छन् ।

युक्रेनमा शीघ्र शान्ति स्थापना गर्ने बारम्बार प्रतिबद्धता जनाउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनमा जारी रुसको युद्ध अन्त्य गर्ने सम्झौता पहिलेभन्दा नजिक पुगेको दाबी गरेका छन् ।

सन् २०२२ मा सुरु भएको पूर्णस्तरीय रुसी आक्रमणविरुद्धको युक्रेनी प्रतिरक्षामा संयुक्त राज्य अमेरिका प्रमुख समर्थक रहँदै आएको भए पनि पछिल्लो समय राष्ट्रपति ट्रम्पको किएभप्रति असन्तुष्टिका सङ्केतहरू बढ्दै गएको देखिएको छ ।

बर्लिन वार्ताका क्रममा युरोपेली नेताहरूले रुसले कुनै सम्भावित युद्ध अन्त्य सम्झौता उल्लङ्घन नगरोस् भन्ने उद्देश्यले अमेरिका समर्थित सुरक्षा ग्यारेन्टीको एक हिस्साका रूपमा अन्तर्राष्ट्रिय बल तैनाथ गर्ने प्रस्तावसमेत अघि सारेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले वासिङ्टनले प्रस्ताव गरेको नयाँ सुरक्षा ग्यारेन्टीको प्रशंसा गरेका छन् । तर युक्रेनले रुसलाई कुन–कुन भूभाग हस्तान्तरण गर्नुपर्ने भन्ने विषयमा अझै गहिरो मतभेद रहेको उनले स्पष्ट पारेका छन् ।

रुसले युक्रेनका विभिन्न क्षेत्रहरू आफ्नो भएको दाबी गर्दै आएको छ, यद्यपि ती सबै भूभाग उसले पूर्ण रूपमा नियन्त्रणमा लिएको छैन ।

राष्ट्रपति ट्रम्पले युक्रेनले रुसलाई केही भूभाग सुम्पिनुपर्ने अवस्था अपरिहार्य भएको अभिव्यक्ति दिएका छन् । तर यस्तो सम्भावित परिणाम राष्ट्रपति जेलेन्स्कीका लागि पूर्णतः अस्वीकार्य रहेको युक्रेनी पक्षले स्पष्ट रूपमा जनाएको छ ।

धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज भएको छ । यसअघि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको पनि उम्मेदवारी खारेज भएको थियो । त्यसो त केही केन्द्रीय सदस्यहरु सर्वसम्मत हुने भएका छन् । एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार हालसम्म ११ जना सर्वसम्मत भएका छन् । त्यस्तै उपमहासचिवमा उम्मेदवारी दिएका एकसहित १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले समेत उम्मेदवारी फिर्ता लिएका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन आइतबारदेखि भृकुटीमण्डपमा जारी रहेको छ । एमालेको केन्द्रीय निर्वाच आयोगले निर्वाचन तालिकामा संशोधन गर्दै आज साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि एमाले अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिष्पर्धा हुँदैछ । विधान संशोधनपछि १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुँदैछ ।

 

 

 

 

हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई जेल

लाहोर । पाकिस्तानको एक आतङ्कवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ । उक्त सजाय एक वर्षभन्दा बढी समयअघि देशका तत्कालीन प्रधानन्यायाधीशको हत्याका लागि सार्वजनिक रूपमा आह्वान गरेको घटनासँग सम्बन्धित रहेको अदालतका अधिकारीहरू तथा प्रतिरक्षा पक्षका वकिलले मङ्गलबार जानकारी दिएका छन् ।

प्रतिबन्धित तहरीक–ए–लब्बैक पाकिस्तान(टिएलपी) पार्टीका नेता जहीरुल हसन शाहलाई गत वर्ष पक्राउ गरिएको थियो । उनीमाथि सामाजिक सञ्जालमा एक भिडियो प्रसारित गरेको आरोप लागेको थियो, जसमा तत्कालीन प्रधानन्यायाधीश काजी फैज इसाको टाउको काट्ने जो कोहीलाई पनि एक करोड पाकिस्तानी रुपैयाँ (करिब ३६ हजार अमेरिकी डलर)इनाम दिने घोषणा गरिएको थियो ।

प्रधानन्यायाधीश इसाले गत वर्ष ईशनिन्दासम्बन्धी मुद्दामा अल्पसङ्ख्यक अहमदी समुदायका एक व्यक्तिलाई जमानत दिएपछि कट्टरपन्थी धार्मिक समूहहरूको तीव्र आलोचनाको सामना गर्नुपरेको थियो । अहमदी धर्म इस्लामको एक शाखा मानिए पनि पाकिस्तानको संसद्ले सन् १९७४ मा अहमदी समुदायलाई औपचारिक रूपमा गैर–मुस्लिम घोषणा गरेको थियो । त्यसयता अहमदी समुदायका घर र पूजा स्थलहरू प्रायः सुन्नी उग्रवादी समूहहरूको आक्रमणको निशानामा पर्दै आएका छन्, जसले उनीहरूलाई विधर्मी ठान्ने गरेका छन् ।

प्रतिरक्षा पक्षका वकिल मकसुद–उल–हक तथा अदालतका अधिकारीहरूका अनुसार पूर्वी सहर लाहोरस्थित आतङ्कवाद विरोधी अदालतले सोमबार शाहलाई दोषी ठहर गरेको हो । अदालतले उनको अभिव्यक्ति र सार्वजनिक आह्वानले समाजमा घृणा फैलाएको र हिंसालाई प्रोत्साहन दिएको ठहर गर्दै कडा सजाय सुनाएको जनाएको छ ।

यो फैसला पाकिस्तान सरकारले टिएलपी पार्टीमाथि प्रतिबन्ध लगाएको दुई महिनाभन्दा पनि कम समयपछि आएको हो । गाजाको समर्थनमा आयोजित एक र्‍यालीका क्रममा पार्टीका समर्थकहरू र सुरक्षाकर्मीबीच घातक झडप भएपछि सरकारले उक्त पार्टीलाई प्रतिबन्धित गरेको थियो ।

ती झडपपछि टिएलपीका प्रमुख नेता साद रिजवी बेपत्ता भएका छन् । प्रहरीका अनुसार, पञ्जाब प्रान्तको राजधानी लाहोरबाट इस्लामाबादतर्फ मार्चको नेतृत्व गरिरहेका बेला अक्टोबरको सुरुआतमा सुरु भएको अशान्तिका क्रममा रिजवी पाकिस्तान प्रशासित काश्मीरतर्फ भाग्न सफल भएका थिए ।

यस घटनाक्रमले पाकिस्तानमा धार्मिक कट्टरपन्थ, अभिव्यक्ति स्वतन्त्रता र अल्पसङ्ख्यक समुदायको सुरक्षासम्बन्धी विषयहरू फेरि एकपटक गम्भीर बहसको केन्द्रमा ल्याएको छ ।

थाइल्यान्ड भन्छ – युद्ध रोक्न कम्बोडियाले ’पहिले’ युद्धविराम घोषणा गर्नु पर्छ

बैङ्कक ।  थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ ।

थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा “इमानदारीपूर्वक“ सहयोग गर्नुपर्ने बताएका छन् ।

यस महिना दक्षिण पूर्वी एसियाली छिमेकीहरू बिचको लडाइँले सैनिक र नागरिकहरू सहित कम्तिमा ३२ जनाको ज्यान लिएनुका साथै करिब आठ लाख विस्थापित भएको अधिकारीहरूले बताएका छन् ।

प्रत्येक पक्षले आत्म–रक्षा र नागरिकहरू माथि आक्रमणको आरोप लगाउँदै झडपलाई उक्साएकोमा अर्कोलाई दोष दिएका छन् ।

कम्बोडियाले भने हाल सम्म थाइल्यान्डको बयानमा कुनै प्रतिक्रिया दिएको छैन ।

यस वर्षको सुरुमा सीमा द्वन्द्वमा हस्तक्षेप गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता दुई देश शनिबार देखि युद्धविराम गर्न सहमत भएको दाबी गरेका थिए ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले आफ्नो देशले वासिङ्टनको सहभागितामा आसियान क्षेत्रीय अध्यक्ष मलेसियाको युद्धविराम पहललाई समर्थन गरेको बताएका छन् ।

तर पछिल्लो समयमा बैङ्ककले ट्रम्पको युद्धविराम दावीलाई अस्वीकार गरेको भने डिसेम्बर–७ देखि दैनिक पुनः लडाइँ जारी छ ।

 

‘पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौं’

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रिय सभा बैठक बोलाउने तयारी गरिएको बताएका छन् । मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिको हलको निर्माण कार्य सकिने बित्तिकै सो बैठक बोलाउने गरी आफूले केही दिनभित्र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने तयारी गरेको समेत बताए ।

अध्यक्ष दाहालले राष्ट्रिय सभा बैठक बोलाउने कुरामा सरकार असहमत नभएको पनि बताए । उनले बैठक सञ्चालनका लागि बिजनेसको भने अभाव हुने देखिएको बताए । करिव १० दिनसम्मका लागि विजनेस भएपनि अरु विजनेस नभएको अध्यक्ष दाहालको भनाई थियो । अध्यक्ष दाहालले भने, ‘पुसको १२ गते बैठक बोलाउँछु म । जसरी पनि त्यो काम पूरा गर भनेर ठेकदारलाई भनिएको छ । मलाई लाग्छ–१०, १२ गतेसम्म हल तयार हुन्छ । अलिकति आकार आएपछि प्रधानमन्त्रीसँग गएर कुरा गरेर सदन बोलाउने कुरामा अहिलेसम्म विमति छैन । अव के होला त्यो कार्यान्वयनमा जाला ? तर बैठक चाँही हामी १०-१२ गतेतिर बस्छौँ । तर अब सरकारसँग विजनेस केही पनि छैन । हामीसँग २-३ वटा विधेयक छन् ।’

उनले भने, ‘कि अब हामीले चलाउने नाममा आयोगका प्रतिवेदनहरु छन् । मन्त्री बोलाउने, छलफल गर्ने, बस्ने एउटा कुरा हो । तर त्यति धैरै विजनेशहरु छैन । अब उता गएको विधेयकहरु निष्क्रिय भईहाले । हामीसँग ४ वटा छन् । हामीसँग विधेयक नै कम छन । एउटा विधेयक अध्यादेशमार्फत आएको छ । त्यो आर्थिक विधेयक हो भने राष्ट्रिय सभालाई छलफल गर्ने अधिकार छैन । त्यो प्रतिनिधि सभामा मात्रै छलफल हुने हो । त्यसकारण हामीसँग १० दिन भन्दा बढि छलफल गर्ने विजनेस छैन । सरकारलाई विजेनसको बारेमा सोच्नुस् भनेर भनेको छु । जसोतसो चलाउनु पर्ला ।’ अध्यक्ष दाहालले राष्ट्रिय सभालाई चलाउनका लागि विजनेशको अभाव हुने अवस्था रहेको बताए ।

 

 

 

 

 

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बिचको युद्धको अन्त्य गर्न युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच बर्लिनमा चलिरहेको वार्ता शान्ति सम्झौता नजिक पुगेको बताएका छन् ।

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले संयुक्त राज्य अमेरिकाले जर्मनी, इटाली, फ्रान्स, बेलायत, पोल्याण्ड, नर्वे, डेनमार्क, फिनल्यान्ड र नेदरल्यान्ड्स लगायत युरोपेली नेताहरूबाट समर्थन“ प्राप्त गरेको र द्वन्द्वको अन्त्य हेर्न चाहेको बताएका छन् ।

उनीहरू अहिले रूसका राष्ट्रपति पुटिनसँग धेरै कुराकानी गरेर नजिक भएका छन् र मलाई लाग्छ हामी पहिले भन्दा अहिले नजिक छौं हामी धेरैको ज्यान बचाउन चाहन्छौँ “, ट्रम्पले भने ।

यसै बिच द्धन्द्धलार्ई अन्त्य गर्न चाहने युरोपेली नेताहरूबाट पनि ठुलो समर्थन प्राप्त भइरहेको उनले बताएका छन् ।

युक्रेनमा युद्धको समाधानका लागि वार्ता गर्न बर्लिनमा अमेरिका, युरोपेली र नेटो नेताहरू र जेलेन्स्कीबीच घन्टौँ लामो कूटनीतिक छलफल पछि ट्रम्पको टिप्पणी आएको हो ।

अल जजिराका अनुसार युरोपेली नेताहरू युक्रेनका लागि कुनै पनि पश्चिमी सुरक्षा ग्यारेन्टीको लागि सहमत भएका छन् ।

यस अघि युक्रेनी राष्ट्रपतिले पश्चिमाहरुको सुरक्षा ग्यारेन्टि भए युक्रेन आफ्नो नेटो सदस्यताको महत्वाकाक्षां त्याग्न तयार रहेको सङ्केत गरेका थिए ।

एमाले महाधिवेशन : साँझ ७ बजेबाट मतदान, ८० ‘भोटिङ मेशिन’ तयार

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान सुरु हुने भएको छ । यसअघि दिउँसो १२ बजेदेखि मतदान गर्ने कार्यतालिका भए पनि विद्युतीय भोटिङ मेशिनको कोडिङ मिलाउन समय लागेकाले निर्वाचन कार्यतालिका संशोधन गरिएको हो ।

पार्टी केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान आज साँझ ७ बजेदेखि भोलि (पुस २) बिहान १ बजेसम्म चल्नेछ । भृकुटीमण्डप आजसम्म मात्रै भाडामा लिइएकाले आजै मतदान र अधिकांश निर्वाचन प्रक्रिया सक्ने तयारी गरिएको स्थायी कमिटी सदस्य बिनोद श्रेष्ठले जानकारी दिए । एमालेले महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेशिन प्रयोग गर्नेछ । यद्यपि १०० वटा मेशिन ल्याइए पनि ८० वटा मात्र मतदानका लागि प्रयोग हुने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले बताए ।

महाधिवेशनमा कुल २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । ११ जना उम्मेदवार निर्विरोध चयन भइसकेका छन् भने बाँकी उम्मेदवारलाई मत दिनुपर्नेछ । एक प्रतिनिधिले औसतमा २ सय ९२ जनालाई मत दिनुपर्ने भएकाले एक जनाले मतदान गर्न कम्तीमा २५–३० मिनेट लाग्ने निर्वाचन आयोगको अनुमान छ । एक पटकमा ८० जना प्रतिनिधिले मतदान गर्न पाउने हुँदा सबै प्रतिनिधिको मतदान सकिन कम्तीमा १० देखि ११ घण्टा लाग्ने आयोगका सदस्यहरू बताउँछन् । त्यसअनुसार एमाले नेतृत्व चयनको निर्णायक प्रक्रिया आज रातभर चल्नेछ ।

 

 

एडीबीको १४ अर्ब ३८ करोड ऋण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर (करिव १४ अर्ब ३८ करोड बराबर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । गत मंसिर २५ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार एवम् सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिएका हुन् । ‘स्ट्रन्थेनिङ पब्लिक फाइनान्सियल म्यानेजमेण्ट एन्ड डेभलप्ड सर्भिस डेलिभरी कार्यक्रमको लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय भएको उनले बताए ।

बैठकले जेन—जी आन्दोलनका प्रतिनिधि र सम्माननीय प्रधानमन्त्रीबीच मंसिर २४ मा भएको सम्झौता अनुमोदन गर्ने र उक्त सम्झौता सम्वद्ध मन्त्रालयले उच्च प्राथमिकतासाथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । यस्तै, सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारु २ सय तथा भारु ५ सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने निर्णय गरेको छ ।

मंसिर २९ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरुः
–प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने ।
–स्ट्रन्थेनिङ पब्लिक फाइनान्सियल म्यानेजमेण्ट एण्ड डेभलप्ड सर्भिस डेलिभरी कार्यक्रमको लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर (करिव १४ अर्ब ३८ करोड बराबर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
–पवनकुमार शारदा र मुरारी लाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहा जिल्ला लहान नगरपालिकाको १—१५—१० विघा जग्गा तथा सोमा बनेको भवनको मधेस प्रदेश सरकारको रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालका नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर आर्थिक ऐन, २०८२ बमोजिम छुट दिने ।
–सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भा.रु. २०० तथा भा.रु. ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भा.रु. २५,००० को सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने ।
–आर्थिक वर्ष २०८२र८३ को बाँकी अवधिका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित सिंचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाको लागि अधिकृतस्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
–२०८२ पुस १२ देखि १४ गतेसम्म नेपालको काठमाडौंमा सञ्चालन हुने नेपाल(भारत संयुक्त कृषि कार्यसमूहको नवौं बैठकमा सहभागी हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिको संयोजकत्वको नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
–सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गर्ने ।
–युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने ।
–नेपाली सेनाका दुईजना महासेनानीको सहायक रथी पदमा र एकजना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने, छ जना उपरथीहरू र सातजना महासेनानीहरूको सरूवा गर्ने ।
–राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य पदमा प्रा. सुनीती श्रेष्ठ (हाडा) लाई नियुक्त गर्ने ।
–राजनीतिक दल तथा अन्य सरोकारवाला पक्षसँग संवाद, समन्वय र सहजीकरण गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने ।

मंसिर २५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
–नेपाल न्याय सेवाका सहसचिव पुष्कर सापकोटालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने ।
–समाज कल्याण परिषद्को सदस्य(सचिव पदमा श्री सरोजकुमार शर्मा, महोत्तरीलाई मनोनयन गर्ने ।
–जेन—जी आन्दोलनका प्रतिनिधि र सम्माननीय प्रधानमन्त्रीबिच मिति २०८२-८-२४ मा भएको सम्झौता अनुमोदन गर्ने र उक्त सम्झौता संवद्ध मन्त्रालयले उच्च प्राथमिकतासाथ कार्यान्वयन गर्ने ।
–जेन—जी आन्दोलनका प्रतिनिधि र सम्माननीय प्रधानमन्त्रीबिच मिति २०८२—८-२४ मा भएको सम्झौताबमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२/६र५ को निर्णय अनुसार गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने ।

 

 

 

 

नागरिक उडययन् प्राधिकरणका प्रबन्धक मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक एवं पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुनकर्मीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध करिब ढाई करोड रुपैयाँ विगो कायम गरी, त्यसअनुसार जरिवाना, कैद सजाय र स्रोत नखुलेको सम्पत्तिबाट बढेको रकम जफत गर्ने माग गरिएको छ । मुनकर्मीले २०५४।११।०१ देखि २०८०।०८।१४ सम्म सरकारी पदमा कार्यरत रहँदा आफ्नो पारिश्रमिक, बचत, जग्गा बिक्री, ऋणरसापटी आय, शेयर तथा लाभांश, बोनस र अन्य वैधानिक आयका स्रोतहरूको कुल र ३ करोड ७३ लाख ८१ हजार ४४४।२० मात्र आर्जन गरेका थिए । तर सो अवधिमा मुनकर्मी र उनको परिवारले जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, सुनको गरगहना, विमा भुक्तानी, अध्ययन शुल्क, ऋण तिर्ने, व्यवसायमा लगानी तथा बैंकरसहकारी खातामा जम्मा रकम गरी ६ करोड २४ लाख १५ हजार ९६१।३९ खर्च गरेको देखियो । यस अनुसार कुल आय भन्दा कुल व्ययमा २ करोड ५० लाख ३४ हजार ५१७।१९ बढी भएको पाइएको छ ।

उक्त रकमको स्रोत पुष्टि भएको नदेखिएकोबाट मुनंकर्मीले उक्त रकम बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको तथ्य प्रचलित कानून बमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएको अनुसन्धानबाट देखिएको छ । उनले मनासिव कारण बिना वैधानिक आयको तुलनामा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको स्थापित भएको तथा सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमतीको नाममा सम्पत्तिहरु खरिद गरेको देखिएको छ । मुनंकर्मी र उनको श्रीमती पूर्ण केशरी गोसाईमाथि बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । अख्तियारले पोखरा विमानस्थल बनाउन भएको ठेक्का सम्झौतासम्मको ‘भ्रष्टाचार’ मा ५ पूर्वमन्त्री र ९ पूर्वसचिवसहित ५६ विरुद्ध मुद्दा दायर गरिसकेको छ । विमानस्थल निर्माणमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको संसदीय छानबिन समितिको निष्कर्ष छ । अख्तियारले निर्माणमा भएको यही हिनामिनामाथि अनुसन्धान थालेको हो ।

 

यस्तो बन्यो ओली प्यानलको अन्तिम सूची (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवशेनमा आज पदाधिकारीसहित विभिन्न पदमा मतदान हुने कार्यतालिका रहेको छ। यस पटक पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आफ्नो टिम बनाएर चुनावी मैदानमा होमिएका छन्। दुवै पक्षले जितका लागि रणनीति बनाएर अघि बढिरहेका छन् । यसैबीच अध्यक्ष ओली पक्षीय नेताहरुले आफ्नो प्यानलको उम्मेदवारहरुको सूची आन्तरिकरुपमा प्रतिनिधिहरुलाई पठाइरहेका छन्।

यसअघि सोमबार बिहान तयार पारिएको प्यानल सूचीमध्ये कतिपयले उम्मेदवारी नदिएको र कतिपयका पदहरू तलमाथि परेका कारण यो सूची ल्याइएको उक्त पक्षका एक नेताले बताएका छन्। केपी शर्मा ओली एमालेका दुई पटक अध्यक्ष भइसकेका उम्मेदवार हुन्। उनी अहिले तेस्रो कार्यकालका लागि पनि अध्यक्षको उम्मेदवार बनेका छन्।
हेर्नुस् ओली प्यानलको उम्मेदवार सूची

जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा ढल्यो

काठमाडौँ । भदौ २३ गते, विसं २०८२ । गतिहीन राजनीतिक र शासकीय अभ्यासको अन्त्य गर्दै मुलुकको भाग्य र भविष्य बदल्ने सङ्कल्पका साथ नवयुवा तत्कालीन सरकार र राजनीतिक दललाई खबरदारी गर्न बिहानैदेखि माइतीघर मण्डला आसपास केन्द्रित भरहेका थिए । सडकमा युवाहरूको एउटै आवाज थियो– मुलुकमा व्याप्त भ्रष्टाचार अब निर्मूल हुनुपर्छ, सुशासन र सेवा प्रवाहमा सुधार आउनुपर्छ, स्वास्थ्य, शिक्षा र रोजगारका क्षेत्रमा सरकार संवेदनशील बन्नुपर्छ । अवसरको न्यायोचित बाँडफाँट हुनुपर्छ । ‘डिजिटल प्लाटफर्म’ लाई प्रतिबन्ध होइन, झन् सहजीकरण गर्नुपर्छ ।

यी यस्तै जनसरोकारका विषय उठाएर सुरु भएको भद्र विरोध प्रदर्शनमा ठूलो सङ्ख्यामा युवापुस्ताको सहभागिता थियो । त्यसमा आम नागरिकको नैतिक समर्थन र सहयोग थियो । ‘डिजिटल युग’मा हुर्केको जेनजी पुस्ता र प्रविधिको प्रयोगबाट दैनिक रोजीरोटी चलाइरहेका युवा सामाजिक सञ्जाल प्रतिबन्धको घटनाबाट निकै रुष्ट थिए ।  गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ का बिमलबाबु भट्ट समकालीन पुस्ताले उठाएका मुद्दाप्रति सहमत थिए । उनमा आफ्नो पुस्ताले मुलुकको विद्यमान दूरावस्था परिवर्तन गरेरै छाड्छ भन्ने दृढ विश्वास थियो । त्यसमा आफ्नो पनि योगदान हुनुपर्छ भनेर भट्ट त्यस दिन बिहानै ‘आन्दोलनमा नजानु’ भन्ने पारिवारिक दबादलाई अस्वीकार गर्दै आन्दोलनको मुख्य केन्द्र रहेको नयाँ बानेश्वरमा पुगेका थिए ।

युवाहरूले थालेका प्रदर्शनको अग्रमोर्चामा उनी खडा भए । प्रदर्शनकै क्रममा नयाँ बानेश्वर चोकमा प्रहरी र युवाबीच घम्साघम्सी र घकेला धकेल भयो । लगत्तै सुरक्षाकर्मीबाट गोली चल्यो । भट्टको छातीमा गोली लाग्यो । सङ्घीय संसद्भवनको दक्षिणतर्फको मुख्य प्रवेशद्वार अघि ढलेका भट्टलाई साथीहरूले नजिकैको निजामती अस्पताल पुर्‍याए । अस्पताल पुर्‍याउँदा उनले शाहदत प्राप्त गरिसकेका थिए ।

त्यसैदिन विदेश जाने सम्झौता हुँदै थियो

मुलुकमा रोजगारीको उचित अवसर नपाएपछि बारपाक सुलिकोट–५ गोरखाका दाजुभाइ अनिल र बिमलबाबु वैदेशिक रोजगारीका लागि युरोप जाने तयारीमा जुटिरहेका थिए । लामो समयदेखि काठमाडौँमा मामा हरिराम भट्टको छत्रछायाँमा हुर्केरहेका दुवै दाजुभाइले पोर्चुगल जानका लागि वैदेशिक रोजगार कम्पनीलाई सात लाख पैसासमेत बुझाइ सकेका थिए ।

वैदेशिक रोजगारबाट परिवारको आर्थिक अवस्था सुधार गर्ने र घर व्यवहार चलाउने भट्टको सपना थियो । “नेपालमा जागिर नपाएपछि भाञ्जामा नैराश्यता थियो, घरको आर्थिक स्थिति पनि त्यति राम्रो थिएन, अनि विदेश जाने प्रक्रियामा हुनुहुन्थ्यो”, सुशानस योद्धा भट्टको मामा हरिरामले भने ।

विमलले विजय न्यौपानेमार्फत वैदेशिक रोजगारीमा जान पैसा बुझासकेका थिए । भाञ्जाले पैसा बुझाएका बारेमा बुझ्न त्यसदिन मामा हरिराम एयरपोर्ट पुगेका थिए । त्यहाँ न्यौपानेसँग भेटेपछि उनले भाञ्जालाई फोन गरे । त्यतिबेलासम्म बिमल कोठामै थिए । त्यसैदिन अपराह्न ४ बजे वैदेशिक रोजगारीका लागि सम्झौता गर्ने तय भएको थियो ।

“सम्झौताका लागि घरबाट हिँडेको भाञ्जा त्यतैबाट आन्दोलनमा जानुभएछ, करिब १ बजेतिर उहाँलाई गोली लागेछ”, मामा हरिरामले भने, “गोली लागेर पहिलो सहिद बिमल नै भए छन् ।”

उनी ९मामा० एयरपोर्ट क्षेत्रमै थिए । अपराह्न ३ बजेतिर उनलाई एक्कासि फोन आयो । फोनमा कसैले भन्यो– “बिमलको मोबाइल म सँग छ ।”

“मैले किन भनेर सोधेँ । उताबाट जवाफ आयो– बिलमलाई गोली लागेको छ, सिभिल अस्पतालमा आउनु,” बिमलका मामा हरिरामले भने । उनका अनुसार आन्दोलनमा गोली लागेर ल्याइएका मध्ये मृत्यु भएको पहिलो व्यक्ति विमल नै हुनुहुँदो रहेछ । पहिचानका लागि बिमलको निधारमा १ नम्बर लेखिएको ‘ट्याग’ टाँसिएको थियो ।

मृत्युको खबर एक सातापछि

जेनजी आन्दोलनका क्रममा बिमलसहित ७६ जनाको निधन भयो । गाउँमै रहेकी बिमलकी आमा सीतालाई छोराले साहदत प्राप्त गरेको एक सातापछि मात्रै जानकारी दिइयो । आफन्तहरूले उनलाई बिमललाई गोली लागेको र अस्पतालमा उपचार भइरहेको मात्र खबर गरिएको थियो ।

आमा सीताले छोराका शव घर ल्याउने दिन भदौ ३० गते मात्र भाउजु र बहिनीबाट छोराको निधनको खबर थाहा पाएकी थिईन् । आमा सीता आफूलाई सहारा दिने कान्छो छोरा निधनबाट ठूलो शोकमा छिन् । “सुख दुःखमा सहारा दिने घरको टाठोबाठो, अनि बलियो खम्बा उहीँ थियो, कान्छो ढलिहाल्यो”, भक्कानिँदै बिमलकी आमाले भनीन् । बिमल काठमाडौँमा रहँदा धेरैजसो मामा घरमा नै बस्ने गर्दथे ।

बर्खायाममा घरको सबै काम सकेर भदौ ५ गते आमासँग बिदाबारी भएर बिमल निस्किएको थिए । उनले मिल्यो भने छिट्टै विदेश जाने भन्ने गरेका थिए । सहिदकी आमा सीता अहिले खेतीपाती, गाई र बाख्रापाठा पालेर बसिरहेकी छिन् । “असारमा आएर कान्छोले धान र कोदो रोप्यो, अहिले घरभरी अन्न छ, खाने बेलामा बाबु हामीबीचमा छैन”, आमाी सीताले भनिन् । बिमल गाउँमा सबैको प्यारो थिए । उनको निधनको पीडामा रसाएका गाउँलेका आँखा अझै ओभाएका छैनन् ।

बिमल माछा, मासु, र दूध, घिउको पारखी थिए । जतिबेला बिमल घरमा जान्थ्ो, आमाले छिमेकीबाट खोजेर ल्याएर पनि दूधदही खुवाउने गर्दथिन्। बिमलका आमा सीता सहिद परिवारलाई रोजगारी र मासिक भत्ता उपलब्ध गराउन सरकारलाई सुझाव दिन्छीन् ।

भाइ गुमाउँदाको शून्यता

बिमलका दाजु अनिलका अनुसार भदौ २३ गते अफिस जानु अघि आन्दोलनमा सहभागी हुने इच्छा जाहेर गरेका भाइलाई पटक–पटक आन्दोलनमा नजान भनेका थिए । जवाफमा बिमलले भने, “जेनजीले उठाएका मुद्दा ठीक छ, क्रान्ति गर्नुपर्छ । आन्दोलनमा हामी नगएको जान्छ र भन्यो । त्यो विषयमा हामी दाजुभाइबीच झगडा जस्तै भयो ।”

त्यो दिन सम्झँदै दाजु अनिले भने, “अघिपछि जस्तै त्यो दिन पनि म बिहान ९ बजे अफिस गएँ । ऊ सुतिरहेको थियो । भाइले तपाईं पनि अफिस नजानुस्, आज हामीसँगै बसौँ भन्यो । जुन कुरा मैले मानिन अहिले पछुतो भएको छ । म बसेको भए सायद भाइ त्यहाँ जान्थेन कि भन्ने लाग्छ !”

परिवारको कान्छो सदस्यकारूपमा २०५९ मङ्सिर १० गते जन्मिएका बिमलले मामा घरमा बसेर विद्यालय शिक्षा लिएका थिए । उनले काठमाडौँको चामुण्डा एकेडेमीबाट विद्यालय शिक्षा पूरा गरेका थिए । भाइसँगको अन्तिम संवाद स्मरण गर्दै अनिल सम्झन्छन्, “भाइ ११ बजेर २१ मिनेटसम्म घरमै थियो । त्यति बेला पनि मैले फेरि भनेको थिएँ आन्दोलनमा नजा ।”

दाजु अनिलले अपराह्न २ बजेतिर फोन गरेर भाइ आन्दोलनमा गए नगएकाबारे बुझ्न फोन गरे । तर त्यो फोन भाइ नभइ अर्कैले उठायो र उसले भन्यो– “तपाईँको भाइलाई गोली लागेको छ, अहिले कता पो हुनुहुन्छ ।”

“म आत्तिए, कहाँ छ भनेर सोधेँ । सिभिल अस्पताल भन्ने जवाफ पाएँ । म त्यस बेला न्यूरोडमा अफिसमा काम गरिरहेको थिएँ,” अनिलले भने, “म तत्कालै अफिसबाट निस्किए । सुन्धरामा आएँ ।”

त्यसअघि मामाको साथीले थाहा पाएर पहिले नै खबर गरिसक्नुभएको रहेछ ।

त्यस दिनको घटनाक्रम सम्झँदै अनिलले भने – कर्फ्यू लागेकाले सुन्धरा पुगे पनि तत्काल त्यहाँ जान सवारीसाधन भेटिएन । २ बजे त्यहाँबाट चढेको बसले घुमाएर साँझ ६ बजे पेप्सीकोला झारिदियो । त्यसपछि ट्याक्सी चढेर आएको थिएँ कर्फ्यूका कारण तीनकुनेबाट अघि बढ्न सकिन । त्यसबीचमा मामा अस्पताल पुग्नु भयो । उहाँबाट भाइको छातीमा गोली लागेर निधन भएको खबर सुनेपछि विक्षिप्त जस्तै भएँ ।

अस्पतालले त्यहाँका शव राति नै महाराजगञ्ज शिक्षण अस्पतालमा लगेको रहेछ । भदौ २५ गते मात्रै भाइको अनुहार देखेँ । सानै उमेरदेखि आफ्नो काँधमा राखेर हुर्काएको भाइलाई काठमाडौँमासमेत अभिभाकत्व दिएको थिएँ । निम्नस्तरको किसान परिवार भएकाले सामान्य धान, मकै र कोदो उब्जनी भए पनि सजिलै घर धान्न सक्ने अवस्था थिएन, उनले आफ्नो पृष्ठभूमि सम्झिए – पछिल्लो समय दुवै जना विदेशजाने सोचमा थियौँ ।

दाजु अनिलका अनुसार मिलनसार, साहासिक, हक्की स्वभावका बिमलको फुटबल, हाइजम्प, जिम्न्यास्टिक रोजाइका खेलकुदमा पर्थ्यो । गाउँमा खसी काट्न पर्‍यो भने सबैलाई सघाउथ्यो । बिमल असारको मध्यतिर घर गएर आमा–बालाई धान र कोदो रोप्न सहयोग पुर्‍याएको थिए । घरको त्यो काम सकेर भदौको पहिलो हप्ता काठमाडौँ फर्केको थियो । त्यसलगत्तै दाजुभाइ विदेश जाने सोच बनायोे र म्यानपावर कम्पनीलाई पैसा बुझाएका थियौ ।

अनिल भन्छन्, “हरेक गतिविधिमा उसको सम्झना हुन्छ । लामो समयको अन्तरालमा जन्मिएको कान्छो भाइ मैले नै बोकेर हुर्काए । उसले के खाने, के कसो गर्ने भनी सोधिरहन्थ्यो । सँगैँ खाइखेली गरियो । भाइ गुमाउनुपर्दा असह्य पीडा छ । पलपलमा सम्झना हुन्छ । कोठमा बाहिर गएको बेला दिनको १० पटकसम्म फोन गर्थ्यो, त्यो नहुँदा शून्य जस्तै भएको छ ।”

अबको बैकल्पिक शक्ति रास्वपा नै हो, बालेनलाइ पनि मिल्न भन्छु : प्रदीप खड्का

काठमाडौँ । कलाकार प्रदीप खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै वर्तमान समयको प्रमुख वैकल्पिक राजनीतिक शक्ति भएको बताएका छन् । उनले नख्खु कारागारमा पुगेर रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई भेट गरेपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै यस्तो धारणा व्यक्त गरेका हुन् ।

खड्काले आफू र रवि लामिछानेबीच पुरानै चिनजान र सम्बन्ध रहेकाले भेट गर्न आएको बताए । भेटका क्रममा उनले अघिल्लो सरकारले कुदृष्टि राखेर रविमाथि अन्यायपूर्ण व्यवहार गरेको आशंका आफूभित्र रहेको उल्लेख गरे । ‘फिल्म क्षेत्रमै पनि अन्याय–अत्याचार हुँदा आवाज उठाउनु पर्छ भन्ने मान्यता राख्छु । लोकतान्त्रिक देशमा नागरिकले आफ्ना कुरा खुलस्त राख्न पाउनु पर्छ’, उनले भने, ‘एउटा व्यक्तिमाथि पुरानो सरकारले नियतवश कारबाही गरिरहेको हो कि भन्ने कुरा मनमा परिरहेको थियो ।’ नयाँ सरकार बनेपछि न्याय मिल्ने अपेक्षा गरे पनि सोअनुसार प्रक्रिया अघि नबढ्दा आफू चिन्तित भएको खड्काको भनाइ छ । ‘तीन महिनाको प्रगति हेर्दा निराशा लाग्यो । यही कारणले पनि भेट गर्न आएको हुँ’, उनले भने ।

उनले जनताको विश्वास जितेको र प्रवल सम्भावना बोकेको राजनीतिक शक्तिका रूपमा रास्वपालाई चित्रण गरे । ‘नयाँ शक्ति जे भनिए पनि, अहिलेको वैकल्पिक शक्ति रास्वपा नै हो’, खड्काले भने, ‘देशको हितका लागि सबै शक्ति मिलेर अघि बढ्नु पर्छ ।’ काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सन्दर्भमा बोल्दै उनले आफू बालेनसँग चिनजान रहेको तर नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङसँग व्यक्तिगत चिनजान नभएको स्पष्ट पारे ।

‘अहिले बालेनलाई शोक परेको बेला यस्तो कुरा गर्नु उपयुक्त नहुन सक्छ’, उनले भने, ‘तर आवश्यकता परे भेटेर सबै मिलेर अघि बढ्न आग्रह गर्न सक्छु ।’ भेटका क्रममा रवि लामिछानेले आफूलाई खुला राजनीतिमा आउन आग्रह गरेको पनि खड्काले जानकारी दिए । यद्यपि उनले तत्काल राजनीतिमा प्रवेश गर्नेबारे नसोचेको बताए । ‘परिस्थिति र आवश्यकता बनेमा राजनीतिमा आउन सक्छु’, खड्काले प्रतिक्रिया दिए । कलाकार खड्काको यो भेट र अभिव्यक्तिलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

 

 

शंकर पोखरेल सँगसँगै मत माग्दै हिंडे प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेको महासचिवका आकांक्षी रहेका प्रदीप ज्ञवाली महासचिवको उम्मेदवार बनेका शंकर पोखरेलसँग सँगै देखिएका छन् । भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा ज्ञवाली शंकर सँगै देखिएका हुन् । केपी शर्मा ओली समूहबाट उपाध्यक्षका उम्मेदवार बनाउन प्रस्ताव गरिए पनि ज्ञवालीले अस्वीकार गरेका थिए । अन्तिमसम्म महासचिवमा दावी गरेका ज्ञवालीले त्यो नपाएपछि केन्द्रीय सदस्यमा नोमिनेशन गरेका थिए । पोखरेललाई महासचिवको उम्मेदवार बनाएपछि ज्ञवाली असन्तुष्ट बनेका थिए ।

तर, मंगलवार बिहानै सामाजिक सञ्जालमा सन्देश लेखेर ज्ञवालीले ओली प्यानलका उम्मेदवारलाई जिताउन अपिल गरेका थिए । दिउँसो महासचिवका उम्मेदवार शंकरसँगै ज्ञवाली महाधिवेशनस्थलमा देखिएका हुन् । महासचिवमा ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले प्रतिस्पर्धा गरेका छन् । महासचिवमा कडा प्रतिष्पर्धा हुने आकलन महाधिवेशन प्रतिनिधिले गरेका छन् । नेतृत्व चयनका लागि मंगलबार साँझ मतदान हुँदैछ ।

पासाङ शेर्पाको उम्मेदवारी नै खारेज

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । उनी बहुविवाहमा पक्राउ परी कैदवापतको रकम बुझाएर छुटेका थिए । उनलाई एक वर्ष जेल र ५ हजार जरिवानाको फैसला अदालतले गरेको थियो ।

उनलाई प्रहरीले कात्तिक १८ गते पक्राउ गरेको थियो । कैद वापत दिनको ३०० को दरले कूल एक लाख ९ हजार ५ सय बुझाएर उनी छुटेका थिए । उनले एमाले महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए। तर उनको उम्मेदवारी पार्टी निर्वाचन आयोगले मापदण्डविपरीत भन्दै खारेज गरिदिएको छ । उनी १० औं महाधिवेशनमा केन्द्रीय सदस्य थिए ।

सडक पीडित श्रेष्ठ भन्छन्–हामी सुकुम्वासी हुने भयौं

हेटौंडा । हेटौंडा शहरको मुख्य क्षेत्रमा सडक विस्तार गरिएसँगै भूकम्प पछिको शहर जस्तै देखिएको छ । सफा र हरियाली शहरको रूपमा चिनिने हेटौंडा बजार अहिले सडक विस्तारपछि अस्तव्यस्त देखिएको हो । सरकारले मंसिर २० गते हेटौंडामा २५–२५ मिटर सडक सीमाभित्र पर्ने घर–टहरा भत्काएको थियो । त्यसअघि सडक डिभिजन हेटौँडाले मंसिर ५ गते १५ दिने अल्टिमेटम दिँदै तोकिएको अवधिभित्र घरधनीले आफैं संरचना नहटाए मंसिर २० गतेदेखि भत्काइने चेतावनी दिएको थियो । घरधनीले भत्काउन आलटाल गरेपछि चेतावनीअनुसार मंसिर २० गते बिहान करिव ४ बजेदेखि त्यस्ता संरचना भत्काइएकोे थियो ।

संरचना भत्काइएपछि सरसफाई हुन बाँकी छ । जसकारण बजार क्षेत्र केही अस्तव्यस्त बनेको हो । मुआब्जाको कारण देखाँउदै त्यस्ता संरचना हटाउन घरधनीले आलटाल गर्दै आएका थिए । सरकारले भने २०३२ सालमै सडक विस्तारका लागि मुआब्जा वितरण भइसकेको र सर्वोच्च अदालतको २०८० पुस १७ गतेको फैसला आफै कार्यान्वयन गर्दै सडक विस्तार कार्य अघि बढाइएको बताउँदै आएको छ तर मुआब्जा नपाएको घरधनीहरुको गुनासो छ ।

अहिले सडक छेवैमा बनेका संरचना हटाउने नाममा आफूहरुलाई सरकारले सुकुम्बासी बनाएको पीडितहरुको बुझाइ रहेको छ । हेटौँडा १० का उदयकुमार श्रेष्ठ अदालतको आदेशमा बाटो किनारका संरचना हटाउने सरकारको कदम ठिक नभएको बताउँछन् । सडक विस्तार पिडित श्रेष्ठले अहिलेको सरकारको नियत ठिक नदेखिएको बताउँछन् । उनकाअनुसार सरकारले भूमिहिनलाई जग्गा दिएर सुकुम्वासी हुन नदिनुपर्ने बेला अहिले सरकारले सुकुम्वासी बनाउन खोजेको छ । आफूहरुको भूमिलाई सरकारले अतिक्रम गरेर भूमिहीन बनाउनु ठिक नभएको उनको बुझाइ छ ।

सडक विस्तार पीडित श्रेष्ठले भने, ‘अब हामी सुकुम्वासी नै हुन्छौं । हामी सुकुम्बासी नै हुने भएपछि त हामी स्थानीय-प्रदेश सरकार गुहार गर्न जान्छौं । कसैले नि हाम्रो वास्ता गरेन भने मर्न र मार्न तयार हुनेछौं । त्यो स्थीतिमा जानपर्ने बाध्यता हुन्छ । हाम्रो बाउ बाजेले मुआब्जा लिएको भए यति नम्बर कित्ताले यति मुआब्जा लिएको छ भनेर सरकारले प्रमाण देखाउनु पर्‍यो हामी छाड्न तयार छौं ।’

पीडित श्रेष्ठले आफूले घरमा किराना पसल चलाएर परिवार चलाइरहेको बताउँदै अब त्यो बाटो बन्द भएको बताए । आफूहरुलाई विस्थापित पार्ने सरकारी कदम न्ययोचित नभएको श्रेष्ठको बुझाइ छ । सडक विस्तार पीडित श्रेष्ठले मुआब्जा नपाएसम्म आफूले एक इन्च जमिन नदिने बताए । आफूहरुलाई विकास विरोधीका रुपमा चिनाउन खोजिएको समेत उनले बताए । आफूहरुले मुआब्जा लिएको प्रमाण सरकारले देखाउन सक्नुपर्ने उनको भनाइ रहेको छ ।

फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य सकिन्छ : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य सकिने बताएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार नै ६ महिनाभित्र निर्वाचन गराउनेगरी म्याण्डेट दिइएको उल्लेख गर्दै तोकिएको मितिमा निर्वाचन नभए सरकारको औचित्य नरहने तर्क गरेका हुन् । नेता पुनले निर्वाचन मिति सार्न सकिन्छ भन्ने मतमा कुनै तर्क नरहेको जिकिर समेत गरे । उनले तोकिएको मितिमा निर्वाचन गरेर अघि बढ्दा नै मुलुकलाई संकटबाट निकास दिन सकिने बताए ।

नेता पुनले भने ‘राजनीतिक दलहरूको पनि सहमतिमा यो सरकार बनेको छ । ६ महिनाभित्र निर्वाचन गराउने सर्तमा । संविधानले एक संसद् र त्यसपछि आउने संविधानबीच ६ महिना भन्दा बढी ग्याप हुनुहुँदैन भन्छ । मान्छे जान्ने भएर चुनाव सर्छ भन्ने गर्दछन् । सर्नुको अर्थ संविधान अझ मिचिनु हो । किनभने अस्ती संसद् विघटन भएको ६ महिना पुग्न ७ दिन मात्रै बाँकी हुनेगरी निर्वाचनको मिति तोकिएको छ । फागुन २१ मा चुनाव र फागुन २८ गते ६ महिना पुग्छ । त्यो ७ दिनभित्र रिजल्ट आउँछ भनेर चुनावको मिति घोषणा गरिएको हो ।’

उनले भने, ‘चुनाव सर्नुको अर्थ यो सरकारको औचित्य सकिन्छ । ६ महिनामा चुनाव गर्छु भनेर कमिटमेन्ट गरेर त्यो म्याण्डेट लिएर आएको सरकारले किन चुनाव नगराउने । गराउँदिन भन्न पाउँदैन । त्यो परामर्श गरेर नै तय गरिएको हो । त्यसो हुनाले ६ महिनाभित्र चुनाव नगराएर यो सरकारको म्यान्डेट सिद्धिन्छ ।’ नेता पुनले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने गरी पुँजीगत खर्च गर्नुपर्ने समेत बताए । उनले जेन–जी आन्दोलनले ध्वस्त बनाएका निजी क्षेत्रको उद्योग, व्यवसायलाई राहत दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

 

एमाले महाधिवेशनमा मतदानअघि भोट माग्दै नेता-कार्यकर्ता

काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औं महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुँदै छ । आगामी पाँच वर्षका लागि एमालेको नेतृत्वमा दाबी गर्दै वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । १९ जना पदाधिकारीका लागि ४२ जना प्रतिस्पर्धा गर्ने छन् भने ३०१ जनाको केन्द्रीय समितिमा पर्न ६०३ जना उम्मेद्वार चुनावी मैदानमा हुनेछन् । यतिबेला भृकुटीमण्डपमा एमालेका नेता-कार्यकर्ता आ-आफ्ना उम्मेद्वारलाई भोट मागिरहेका देखिन्छन् ।

एमालेको मतदानमा ढिलाइ, के हो खास समस्या ?

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान पटक–पटक सर्दै जाँदा अझै सुरु हुन सकेको छैन । सुरुमा मंगलबार दिउँसो १२ बजे, त्यसपछि ३ बजे र पुनः ४–५ बजेदेखि मतदान हुने भनिए पनि साँझसम्म पनि प्रक्रिया अघि बढ्न सकेको छैन । केन्द्रीय निर्वाचन आयोगका अनुसार उम्मेदवारको नाम, फोटो र विद्युतीय भोटिङ मेशिन (ईभीएम) को कोडिङमा समस्या देखिएपछि मतदान ढिलाइ भएको हो । आयोगका सचिव कुन्साङ लामाले प्राविधिक कठिनाइका कारण निर्धारित समयमा मतदान सुरु गर्न नसकिएको स्वीकार गर्दै ‘४ वा ५ बजेपछि जसरी पनि प्रक्रिया थाल्ने प्रयास भइरहेको’ जानकारी दिएका छन् ।

तर प्राविधिक पक्षमा संलग्न लक्ष्मण रिमालले भने नाम तलमाथि परेको, फोटो कोडिङ पुनः गर्नुपरेको जस्ता समस्याले काम लम्बिएको जानकारी दिए । उनका अनुसार सबै प्रक्रिया मिलाउन समय लागेकाले ‘राति ८ बजेदेखि मात्र मतदान सुरु हुन सक्ने’ सम्भावना छ । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिँदैछ र मतदान सकिन ६–७ घण्टा लाग्ने अनुमान गरिएको छ । निर्वाचन कार्यक्रम भृकुटीमण्डपमा हुँदैछ । मतदान ढिलाइसँगै आन्तरिक राजनीति पनि चर्किएको छ । अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेल पक्षले तत्काल मतदान सुरु गर्न माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । सो समूहकी नेतृ अष्टलक्ष्मी शाक्यका अनुसार ढिलाइको नाममा ओली पक्षबाट चलखेल भइरहेको आशंका व्यक्त गर्दै प्रक्रिया अविलम्ब अघि बढाउन दबाब दिइएको हो ।

महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच कडा प्रतिष्पर्धा हुँदैछ । यसैगरी पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, ९ सचिव, ३३ स्थायी कमिटी सदस्य, ९९ पोलिटब्युरो सदस्य र ३०१ केन्द्रीय सदस्य चयनका लागि मतदान हुनेछ । केन्द्रीय सदस्यमा ११ जना तथा अनुशासन र लेखा आयोगका ६ जना पदाधिकारी भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । मतदानको समय झन् लम्बिँदै जाँदा महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधिहरूमा अन्योल र चासो बढ्दै गएको छ । अब निर्वाचन आयोगले कहिले औपचारिक रूपमा मतदान सुरु गर्छ भन्ने प्रश्न सबैको ध्यानको केन्द्रमा छ ।

श्रीलङ्कामा चक्रवात पछि पुन: विद्यालय सुचारु

कोलम्बो । श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबार देखि पुनः सुचारु गरिएको एक वरिष्ठ अधिकारीले बताएका छन् ।

शिक्षा मन्त्रालयका सचिव नालाका कालुवेवाका अनुसार दश हजार ७६ वटा प्रभावित विद्यालय मध्ये नौ हजार ९२९ विद्यालय पुनः खोलिएको छ भने तीन प्रान्तका १४७ विद्यालयहरू आपतकालीन अवस्थाका कारण अझै बन्द रहेका छन् । वन्द विद्यालयहरू उवा, मध्य र उत्तर पश्चिमी प्रान्तहरूमा छन्, जुन चक्रवात का कारण सबै भन्दा बढी प्रभावित भएका थिए ।

विपद् प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई सहयोग गर्न श्रीलङ्का यातायात बोर्ड र श्रीलङ्का रेलवे विभागले बाँकी वर्षका लागि विद्यालय स्थरका विद्यार्थीहरूलाई निःशुल्क यातायात सेवा प्रदान गर्ने जनाएको छ ।

यसै बीच शिक्षा मन्त्रालयले सन् २०२५ को शैक्षिक वर्षका लागि कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि तेस्रो अवधिको परीक्षामा रोक लगाएको छ ।

यस अघि श्रीलङ्कामा विद्यालयको दोस्रो चरण डिसेम्बर– ८ देखि सुरु हुने तय गरिएको थियो । तर, शिक्षा मन्त्रालयले विनासकारी चक्रवातले निम्त्याएको विपत्तिको कारण विद्यालयहरू तोकिएको समयमा खोल्न नसकिएको जनाएको छ ।

भारत–बङ्गलादेशद्वारा भ्रमण आदानप्रदान मार्फत विजय दिवस मनाउदैँ

ढाका । भारत र बङ्गलादेशले सन् १९७१ को मुक्ति युद्धको स्मृतिमा विजय दिवस समारोहलाई विशेष बनाउँदै हरेक वर्ष एक-अर्काका युद्धका दिग्गज तथा सेवारत अधिकारीहरूलाई सहभागिताका लागि आमन्त्रण गर्ने परम्परा कायम राख्दै आएका छन् । ढाकास्थित भारतीय उच्च आयोगले मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको जानकारी अनुसार यस परम्पराअन्तर्गत दुवै देशका वीर सैनिकहरूबीच आपसी सम्मान र ऐतिहासिक मित्रताको सन्देश प्रवाह भइरहेको छ ।

मुक्ति युद्धको ५४औँ वार्षिकोत्सवको अवसरमा आठ जना बहादुर मुक्तिजोधा तथा बङ्गलादेश सशस्त्र बलका दुई जना सेवारत अधिकारीहरू डिसेम्बर १४ मा भारतको कोलकातामा आयोजित विजय दिवस समारोहमा सहभागी हुन भारत आइपुगेका थिए । त्यसैगरी, आठ जना भारतीय युद्धका दिग्गज तथा भारतीय सशस्त्र बलका दुई जना सेवारत अधिकारीहरू डिसेम्बर १५ मा बङ्गलादेशको विजय दिवस समारोहमा सहभागी हुन ढाका पुगेका थिए ।

भारतीय उच्च आयोगले जारी गरेको वक्तव्यमा भनिएको छ, “यी आदानप्रदान भ्रमणहरूले बङ्गलादेशी मुक्तिजोधा र भारतीय युद्धका दिग्गजहरूलाई हाम्रा दुई राष्ट्रबीचको अनौठो र ऐतिहासिक मित्रताको उत्सव मनाउने अवसर प्रदान गर्दछ । यसले मुक्ति युद्धका स्मृतिहरूलाई पुनः ताजा गराउँछ, जुन बङ्गलादेशको कब्जा, उत्पीडन र सामूहिक अत्याचारबाट स्वतन्त्रताका लागि बङ्गलादेश र भारतका सशस्त्र सेनाहरूले दिएको साझा बलिदानको प्रतीक हो ।”

यसै अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सामाजिक सञ्जालमार्फत ५४औँ विजय दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन् । एक्समा गरिएको पोस्टमा प्रधानमन्त्री मोदीले सन् १९७१ को युद्धमा अदम्य साहसका साथ लडेका सशस्त्र सेनाका वीर जवानहरूलाई स्मरण गरेका छन्, जसले बङ्गलादेशको स्वतन्त्रताका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनले ती वीर सैनिकहरूको अतुलनीय राष्ट्रप्रेम र समर्पणप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रधानमन्त्री मोदी लेख्छन्, “विजय दिवसको अवसरमा हामी ती बहादुर सैनिकहरूलाई स्मरण गर्दछौँ, जसको साहस र बलिदानले सन् १९७१ मा भारतको ऐतिहासिक विजय सुनिश्चित गर्‍यो । उनीहरूको दृढ सङ्कल्प र निस्वार्थ सेवाले हाम्रो राष्ट्रको रक्षा गर्‍यो र इतिहासमा गर्वका सुनौलो अक्षर अंकित गर्‍यो । यो दिन उनीहरूको वीरताको सलामी र उनीहरूको अतुलनीय आत्माको स्मरणका रूपमा खडा हुन्छ । उनीहरूको वीरताले भारतीयहरूको पुस्ता–पुस्तालाई निरन्तर प्रेरणा दिइरहेको छ ।”

यसैगरी, भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले पनि विजय दिवसको अवसरमा भारतीय सशस्त्र बलको अद्वितीय भक्ति, साहस र देशभक्तिप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छिन् । उनले हालै २६ जनाको ज्यान लिने भयावह पहलगाम आतङ्कवादी आक्रमणपछि पाकिस्तानविरुद्ध भारतले सञ्चालन गरेको प्रतिक्रियात्मक सैन्य कारबाही ‘अपरेसन सिन्दूर’ का क्रममा सेनाले देखाएको अदम्य साहस र वीरतालाई पनि स्मरण गरेकी छिन् ।

राष्ट्रपति मुर्मूले एक्समा लेख्छीन्, “विजय दिवसको पावन अवसरमा म भारत माताका बहादुर छोराहरूलाई विनम्र श्रद्धाञ्जलि अर्पण गर्दछु । उनीहरूको साहस, वीरता र मातृभूमिप्रतिको अतुलनीय भक्तिले राष्ट्रलाई सधैँ गर्वले भरिदिन्छ । उनीहरूको देशभक्ति र वीरताले देशवासीलाई निरन्तर प्रेरणा दिनेछ । भारतीय सेनाको ‘स्वदेशीकरणमार्फत सशक्तीकरण’ पहलले भविष्यका चुनौतीहरू सामना गर्न तयार रहने हाम्रो प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाउँछ । अपरेसन सिन्दूरमा सेनाले आत्मनिर्भरता, रणनीतिक सङ्कल्प र आधुनिक युद्ध प्रविधिको प्रभावकारी प्रयोग प्रदर्शन गरेको छ, जसले सम्पूर्ण राष्ट्रका लागि प्रेरणाको स्रोत बनेको छ । म सबै सैनिक र उनीहरूका परिवारजनलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । जय हिन्द !”

भारतीय सेनाले पनि सार्वजनिक सूचनाको अतिरिक्त महानिर्देशालयमार्फत सामाजिक सञ्जालमा बङ्गलादेशको स्वतन्त्रताको ऐतिहासिक कथालाई स्मरण गर्दै भारतीय सशस्त्र बलको वीरता र राष्ट्रवादलाई उजागर गरेको छ । एक्समा गरिएको पोस्टमा भनिएको छ, “विजय दिवस केवल एउटा मिति मात्र होइन, यो सन् १९७१ को युद्धमा भारतीय सशस्त्र बलले हासिल गरेको ऐतिहासिक र निर्णायक विजयको प्रतीक हो ।”

पोस्टमा थप उल्लेख गरिएको छ कि यो युद्ध भारतको सैन्य इतिहासलाई पुनः परिभाषित गर्ने विजय थियो । “यो त्यस्तो विजय थियो, जहाँ मुक्तिबाहिनी र भारतीय सशस्त्र सेनाहरू काँधमा काँध मिलाएर लडे, बङ्गलादेशको मुक्ति सङ्घर्षलाई स्वतन्त्रताको दिशामा निर्णायक मोड दिए । यस विजयले भारतको सैन्य इतिहासलाई पुनः आकार दियो, दक्षिण एसियाको नक्सा पुनः निर्माण गर्‍यो र नयाँ राष्ट्र बङ्गलादेशको जन्म गरायो”, पोस्टमा भनिएको छ ।

भारतीय सेनाले उक्त विजयसँगै ठूला समुदायहरूले भोग्दै आएको पाकिस्तानी सेनाको दमन, हिंसा र क्रुरताको अन्त्य भएको पनि स्मरण गरेको छ । सेनाका अनुसार केवल १३ दिनभित्रै कम्तीमा ९३ हजार पाकिस्तानी सैनिकहरूले आत्मसमर्पण गरेका थिए, जसलाई विश्व इतिहासकै सबैभन्दा ठूलो सैन्य आत्मसमर्पणका रूपमा लिइन्छ ।

ओली ‘प्यानल’ कै उम्मेदवार सूचीमा यसरी समेटिए रघुजी पन्त

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका रघुजी पन्तलाई अध्यक्ष केपी शर्मा ओली समूहमै समेटिएको छ। पन्त उपाध्यक्षका आकांक्षी थिए तर अध्यक्ष ओली समूहले बनाएको उम्मेदवार सूचीमा परेका थिएनन्। स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेका पन्तलाई अध्यक्ष ओली र ईश्वर पोखरेल समूहले आफ्नो टिममा पार्न कुरा गरेका थिए ।

अध्यक्ष ओलीले पन्तसँग सोमबार कुराकानी पनि गरेका थिए। नेता प्रदीप ज्ञवाली उपाध्यक्षमा उठ्न नमानेपछि ओली प्यानलमा एक पद खाली थियो । सो ठाउँमा रघुजी पन्तलाई समेटिएको ओली पक्षका नेताहरूले बताएका छन्। एमालेमा पाँच जना उपाध्यक्ष रहने व्यवस्था छ। ज्ञवालीले भने केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन्। ज्ञवालीले भने उपाध्यक्षमा उठ्न अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि पन्तको ढोका खुलेको हो।

 

जनार्दनसहित प्रलोपाका केन्द्रीय सदस्यहरूले लिए बाबुराम भट्टराईबाट शपथ

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समितिको प्रथम पूर्ण बैठक नयाँबजारस्थित एक पार्टी प्यालेसमा बसेको छ । सो बैठकमा केन्द्रीय समितिका सदस्यहरूले सदस्यताको शपथ समेत लिएका छन् । बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल हुने जानकारी रहेको छ ।

पार्टी गठनपछिको प्रलोपाको पहिलो बैठक बसेको हो । बैठक भोलिसम्म जारी रहने छ । बैठकको सुरुआतमा पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले सबै केन्द्रीय सदस्यलाई शपथ खुवाएका छन् । भट्टराईको अभिभावकत्वमा गठित यो पार्टीमा जनार्दन शर्मा, सन्तोष परियार, राम कार्की, सुदन किराँतीलगायत नेताहरू सहभागी छन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै जसमा १८ समस्याग्रस्त बाघ खोरमा

चितवन । मुलुकमा प्रत्येक चार-चार वर्षमा गरिने बाघको गणना आज पुस १ गतेदेखि सुरु हुँदैछ । चितवनको सौराहामा आयोजित औपचारिक कार्यक्रममा उद्घाटन गरी बाघ गणना सुरु गर्न थालिएको हो ।

वन तथा वातावरण मन्त्रालयल अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भूसंरक्षण विभागको समन्वयमा गरिने बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल)नेपालको सहयोग रहेको छ । त्यस्तै गणनामा नेपाली सेना, मध्यवर्ती तथा सामुदायिक वन उपभोक्ता समितिलगायत सहयोगीका रुपमा परिचालित हुने गरेका छन् ।

जम्मा दुई ५० जना प्राविधिक कर्मचारी देशभर खटिएर साढे दुईदेखि तीन महिनाभित्र गणना सम्पन्न गर्ने योजना रहेको निकुञ्ज विभागले जनाएको छ । गणनामा एक हजार १०० अत्याधुनिक क्यामेराको प्रयोग गरिने र बाघको फोटो सङ्कलन गरेर विश्लेषण गरी सङ्ख्या एकिन गरिने विभागका महानिर्देशक बुद्धिसागर पौडेलले जानकारी दिएका छन् ।

निकुञ्ज विभागका अनुसार गणनामा जनशक्ति परिचालन, मेमोरी कार्ड, टेन्ट, सिल्पिङ ब्यागलगायत लजिस्टिक सामानका लागि करिब रु तीन करोड खर्च लाग्ने बताइएको छ । त्यसैगरी, क्यामेरा भने यसअघिकै खरिद गरिएका सबै एक हजार १०० क्यामेरा प्रयोग गर्न लागिएको हो । जुन प्रतिक्यामेराको मूल्य करिब रु ३५ हजार रहेको छ ।

नेपालले स्वचालित क्यामेरा ट्रयापबाट प्रणालीबद्ध रूपमा बाघ गणना गर्न थालेको सन् २००९ देखि हो । उक्त गणनाअनुसार नेपालमा एक सय २१ वटा बाघ रहेका थिए । त्यसअघि बाघका खुट्टाका छाप तथा पदमार्गको अनुमानका आधारमा गणना गरिन्थ्यो र त्यो पनि राष्ट्रियस्तरमा नभई निकुञ्जमा सीमित हुन्थ्यो ।

सन् २००९ यता हरेक चार वर्षमा बाघको सर्वेक्षण हुँदै आएको छ । बाघ संरक्षण कार्ययोजनामा उल्लेख भएअनुसार सन् २०१३, २०१८ र २०२२ मा गणना सम्पन्न भइसकेको छ । अहिले सन् २०२६ का लागि गणना हुनलागेको हो ।बाघको सर्वेक्षण खासगरी हिउँदको समयमा गरिन्छ । किन भने यो चिसो समयमा बाघ सुक्खा ठाउँमा र झाडी नभएको खुला क्षेत्रमा बढी हिँडडुल गर्ने भएकाले क्यामेरामा ट्रयाप गर्न सहज हुने निकुञ्ज विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिएका छन् । उनका अनुसार गणनाका लागि सो क्षेत्रमा दुई वर्गकिलोमिटर क्षेत्रफलमा स्वचालित क्यामेरा राखिन्छ र उक्त क्यामेराले २४सै घण्टा जुनसुकै वस्तु चलायमान हुँदा स्वाचालित रूपमा तस्बिर लिएर रेकर्ड गर्छ ।

पुस ३ गतेदेखि क्यामेरा राखिने

“गणनाका खटिने टोलीलाई क्यामेरा जडान गर्न र निकाल्न एक साताको समय लाग्छ भने ट्रयापिङका लागि कम्तीमा १५ दिन राखिन्छ । यही पुस १ र २ गते औपचारिक उद्घाट्न तथा ओरियन्टेसन कार्यक्रम रहेको छ । यही पुस ३ गतेदेखि फिल्डमा गएर क्यामेरा ओछ्याउने काम सुरु हुन्छ”, वरिष्ठ इकोलोजिष्ट आचार्यले भने ।

क्यामेरा ओछ्याउन सहजताका लागि बाघ पाइने क्षेत्रलाई सिस्टमेटिक बनाउनलाई ब्लकमा विभाजन गरिएको छ । चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी गरी मुख्य तीन ब्लकमा विभाजन गरिएको छ । हरेक ब्लकलाई फेरि क्याम्प–क्याम्पमा बाँडेर प्राविधिक कर्मचारी खटाएर क्यामेरा राख्ने काम गरिन्छ । एउटा पाटे बाघको पाटा अर्कोसँग नमिल्ने र फोटोमा कुनै द्विविधा नहुने भएकाले यस प्रविधिको गणनालाई वैज्ञानिक मानिन्छ ।

क्यामेराबाट तथ्याङ्क आइसकेपछि निकुञ्ज विभागमै विश्लेषण र जम्मा गरी सङ्ख्या एकिन गरिन्छ । अन्तिम परिणाम आगामी जुलाई २९ अर्थात् अन्तरराष्ट्रिय बाघ दिवसका दिनसम्म प्रतिवेदन सार्वजनिक गर्ने भन्ने योजना रहेको वरिष्ठ इकोलोजिष्ट आचार्यले बताएका छन् ।

निकुञ्ज विभागले बाघ गणना सम्पन्न भएपछि गैँडाको पनि गणना गर्ने तयारी रहेको जनाएको छ । त्यस्तै सम्बन्धित निकुञ्जले बाघ र गैँडाको जस्तो नियमित र राष्ट्रियस्तरको नभए पनि चितवन र बर्दियामा घडियाल गोही, पर्सा र चितवनमा गौरी गाई र कोशीमा अर्नाको गणना गर्ने गरेका छन् ।

नेपालले धान्न सक्ने बाघको सङ्ख्या कति ?

पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । यी मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । नेपालबाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यान्मा, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटेबाघ पाइन्छन् ।

उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । हाल नेपालमा बाघको सङ्ख्या बढेर त्यसको झण्डै तेब्बर पुगेको छ ।

नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । त्यस्तै कतिपय अवस्थामा बाघको चोरीसिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठूला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्नेक्रम पनि बढेको छ ।

वर्तमान अवस्थामा नेपालमा बाघको सङ्ख्याको आवश्यकताका बारेमा समेत बहस सुरु भएको छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको सङ्ख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको सङ्ख्याको ‘धान्ने क्षमता’ (क्यारिङ क्यापासिटी)र आहारा तथा बासस्थानको गुणस्तरका बारेमा समेत गहिरो अध्ययन हुनुपर्नेमा जोड दिएका छन् ।

नेपालमा बाघको सङ्ख्याको ‘धान्ने क्षमता’का बारेमा हाल मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष ९एनटिएनसी०, विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ)नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल)लगायत संस्थाले अध्ययन गरिरहेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष(एनटिएनसी) का सदस्यसचिव डा नरेश सुवेदीले मुलुकको पर्यापर्यटनमा बाघको सबैभन्दा बढी महत्व रहेकोे उल्लेख गर्दै बाघको उचित व्यवस्थापनमा जोड दिएका छन् । उनले भन्नुभयो, “वन मन्त्रालयसँग मिलेर हामीले बाघ संरक्षणका सवालमा स्थानीय समुदायमा जनचेतना जगाउने र आर्यआर्जनलगायत सीपमूलक तालिम तथा कार्यक्रम गर्दै आएका छौँं ।” उहाँले पर्यापर्यटन प्रवर्द्धन गर्न र मानवसँगको द्वन्द्व रोकथामका लागि मानव–बाघ सहअस्तित्वका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा भगवानराज दाहालले भने, “अहिले नै बाघको सङ्ख्या बढी भयो भन्न मिल्दैन, बरु बाघलाई आफ्नो बासस्थानमा अडिनका लागि गुणस्तरीय आहारा वृद्धि गर्न पानीका स्रोत र घाँसेमैदान बढाउनतर्फ लाग्नुपर्छ ।” पछिल्लो सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ ।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै हरेक चार वर्षमा राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा एक सय नौ, सन् २००५ मा एक सय २६, सन् २००९ मा एक सय २१, सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा बाघको सङ्ख्या बढेर दुई सय ३५ पुगेको थियो ।

विश्वजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले बाघ पर्यापर्यटनको ठूलो धरोहर भएको बताउँदै सबै मिलेर यसको संरक्षणमा लाग्नुपर्ने बताएका छन् । मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि जङ्गल वरपरका स्थानीयलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने उनको सुझाव छ ।

देशभरका खोरमा १८ समस्याग्रस्त बाघ

बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढ्दो छ । खासगरी मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ ।

हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको सङ्ख्या १८ वटा छ । तीमध्ये ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पाँच, चितवन राष्ट्रिय निकुञ्जमा सात, बर्दिया राष्ट्रिय निकुञ्जमा चार, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा एक–एक बाघ खोरमा राखिएका छन् । यस्ता बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनि सरकारको ठूलो रकम खर्च हुँदै आएको छ ।

सन् २०२५ पछिल्लो तथ्याङ्कअनुसार विश्वमा बाघको सङ्ख्या बढेर पाँच हजार ३५७ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी भारतमा तीन हजार १६७, रुसमा सात सय ५०, इण्डोनेसियामा चार सय, नेपालमा तीन सय ५५, थाइल्याण्डमा एक सय ८९, भुटान एक सय ५१, मलेसियामा एक सय ५०, बङ्गलादेशमा एक सय ४६, म्यान्मामा २२, चीनमा २०, भियतनाममा पाँच र लाओसमा दुईवटा बाघ रहेका छन् ।

एमाले पदाधिकारीमा ३८ पुरुषसँग भिड्दै चार महिला

काठमाडौं । नेकपा (एमाले) को ११ औं अधिवेशनअन्तर्गत आज हुने पदाधिकारी निर्वाचनमा महिलाको सहभागिता अत्यन्त न्यून देखिएको छ । अध्यक्षदेखि सचिवसम्मका १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार मैदानमा रहे पनि महिला उम्मेदवारको संख्या चार जनामा मात्र सीमित हुँदा पार्टीको शीर्ष नेतृत्वमा महिलाको उपस्थिति कमजोर बन्ने आशंका बढेको छ ।

एमालेको विधानअनुसार कम्तीमा एक जना महिला पदाधिकारी अनिवार्य हुने व्यवस्था रहे पनि कुन पदमा महिला हुनुपर्ने भन्ने स्पष्टता छैन । यही अस्पष्ट व्यवस्थाको असर पदाधिकारी उम्मेदवारीमा देखिएको छ । हाल १९ पदाधिकारीका लागि ३८ जना पुरुषसँग प्रतिष्पर्धा गर्दै चार जना मात्र महिला उम्मेदवार चुनावी मैदानमा छन् । उपाध्यक्ष पदमा पाँच सिटका लागि ११ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । तीमध्ये महिला उम्मेदवारका रूपमा डा. बिन्दा पाण्डे एक्ली उम्मेदवार हुन् ।

उनी ईश्वर पोखरेल नेतृत्वको प्यानलबाट उम्मेदवार बनेकी हुन् भने अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलबाट उपाध्यक्षमा एक जना पनि महिला उम्मेदवार अघि सारिएको छैन । आरक्षणको व्यवस्था नभएकाले पाण्डे निर्वाचित हुन ११ जनामध्ये उत्कृष्ट पाँचमा पर्नुपर्नेछ । यसअघि उपाध्यक्ष भइसकेका अनुभवी नेताहरूसँग प्रतिष्पर्धा गर्नुपर्ने भएकाले उनको यात्रा चुनौतीपूर्ण देखिन्छ । सचिव पदमा पनि महिलाको स्थिति कमजोर छ । नौं सचिव पदका लागि २० जना उम्मेदवार प्रतिष्पर्धामा रहेकामा तीन जना महिला उम्मेदवार छन् । ओली प्यानलबाट पद्मा अर्याल दोस्रो कार्यकालका लागि उम्मेदवार बनेकी छिन् भने पोखरेल प्यानलबाट रचना खड्का मैदानमा छिन् ।

पेम्बा लामाले पनि सचिव पदमा उम्मेदवारी दिएकी छन् । तर, सचिव पदमा पनि महिला आरक्षणको व्यवस्था नरहेकाले उत्कृष्ट नाैं जनाभित्र पर्न नसके महिलाको प्रतिनिधित्व सचिव तहमा शून्य हुने जोखिम कायमै छ । महासचिव र उपमहासचिव पदमा भने महिला उम्मेदवारी परेको छैन । महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच प्रतिष्पर्धा हुँदैछ भने तीन उपमहासचिव पदका लागि सात जना पुरुष उम्मेदवार मात्रै मैदानमा छन् । एमालेको यो अधिवेशन आगामी पार्टी नेतृत्व, शक्ति सन्तुलन र राजनीतिक दिशानिर्देश तय गर्ने निर्णायक क्षणका रूपमा हेरिएको छ ।

तर, पदाधिकारी चयनको प्रक्रियामा महिलाको न्यून सहभागिताले पार्टीको समावेशी नेतृत्व निर्माणसम्बन्धी प्रतिबद्धतामाथि प्रश्न उठाएको छ । पार्टीभित्रै आरक्षणको स्पष्ट व्यवस्था नहुनु र प्यानल राजनीतिले महिलालाई प्रतिस्पर्धामा कमजोर बनाएको भन्दै असन्तुष्टि बढ्न थालेको छ । यसअघि दशौँ महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पद्मा अर्याल निर्वाचित भएका थिए । तर, यस पटक शाक्यले उम्मेदवारी नदिने मात्र होइन सक्रिय राजनीतिबाट बिदा नै लिएकी छिन् । यस्तो अवस्थामा ११औँ अधिवेशनबाट महिला पदाधिकारीको संख्या घट्ने वा सीमित हुने सम्भावनाले एमालेको नेतृत्व संरचनामा लैंगिक सन्तुलन झनै कमजोर हुने संकेत देखिएको छ ।

 

ठुला कर्पोरेट हाउसका सञ्चालकहरूले श्रमिकको अधिकार खोसे : अध्यक्ष सिम्खडा

काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगतबहादुर सिम्खडाले ठुला कर्पोरेट हाउसहरूले श्रम शोषण गर्ने गरेको आरोप लगाएका छन् । काठमाडौँमा मङ्गलवार आयोजित एक कार्यक्रममा उनले कर्पोरेट हाउस र मल्टीनेशनल कम्पनीहरूले श्रमिकहरूलाई अधिकार दिन नमान्ने गरेको आरोप लगाएका हुन् । उनले श्रमिकलाई अधिकार दिनुपर्ने भएकोले कम्पनीहरूले पछिल्लो समय अस्थायी श्रमिकलाई ल्याएर काम गर्ने प्रचलन बढेको बताए ।

स्थायी श्रमिकहरू निकालेर अस्थायी श्रमिक भर्ती गर्ने प्रचलनले श्रमिकहरू मारमा परेको उनको भनाई छ । स्थायी श्रमिकलाई न्यूनतम पारिश्रमिक दिनुपर्ने, प्रत्येक दुई वर्षमा तलववृद्धि गर्नुपर्ने, सामाजिक सुरक्षा लागू गर्नुपर्ने कारणले ठुला भनिएका होटलहरु नै यसबाट पन्छिन खोज्ने गरेको उहाँको दाबी छ । उनले होटलहरुमा श्रमिकले पाउने १० प्रतिशत सर्भिस चार्ज पनि नपाउने गरेको बताए ।

उनले भने ‘अहिले ठुला ठुला कर्पोरेट हाउसहरूका बर्नरहरूले सञ्चालन गरेका, कतिपय मल्टीनेशनल कम्पनीहरूले सञ्चालन गरेका होटलहरु आज श्रमिकलाई अधिकार दिनबाट उहाँहरू भाग्न खोज्नुहुन्छ । आज एउटा श्रमिकलाई स्थायी भइसकेपछि उसले सामाजिक सुरक्षाको कुराकानी गर्छ, उसले तलब न्यूनतम बेतनको कुरा गर्छ, उसले त्यो सँगै श्रम ऐनले दिएको प्रत्येक दुई वर्षमा सामूहिक सौदाबाजी गर्ने उसले आफ्नो अधिकार प्रयोग गर्न खोज्छ, त्यसकारणले यो उसको अधिकारलाई दिनु हुँदैन भनेर आज आउटसोर्स कम्पनीमार्फत श्रमिकहरूलाई ल्याएर काममा लाउने, स्थायी प्रकृतिका श्रमिकहरूलाई चाहिँ निष्कासन गर्ने जस्तो स्थिति आज बनेको छ ।’ उनले श्रमिकहरूले श्रमदाताको लगानी र सुरक्षाको चिन्ता गर्ने भएपनि रोजगारदाताहरूले श्रमिकलाई सधैँ बेवास्ता गर्ने गरेको बताए ।

सभापति देउवा र शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजालले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सभापति देउवा निवास महाराजगञ्ज पुगेर कोइराला र रिजालले पार्टीका आन्तरिक विषयमा कुराकानी गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयले नम्बर बिनाका क्रियाशील सदस्यता फारम जिल्लाहरूमा पठाएको विषयमा कुरा गर्न कोइराला र रिजाल सभापति देउवाकहाँ गएका हुन् । साथै केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा नेता कोइराला र रिजाल सभापति देउवाकहाँ गएको नेता कोइरालाको सचिवालयले जनाएको छ ।

भेटमा कोइरालाले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पुगेको र यसले पार्टीभित्र जटिल समस्या सिर्जना गरेको सभापति देउवालाई बताएका थिए । कोइरालाले बिना नम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन आग्रह गरेका थिए । अनुशासन कारबाहीका सम्बन्धमा सभापति देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने बताएका थिए । सुदूरपश्चिमका विभिन्न जिल्लामा नम्बर बिनाका क्रियाशील सदस्यता फारम पुगेपछि विवाद भएको थियो ।

यस्तै, अनुशासन कारबाहीका विषयमा पनि कोइरालाले देउवाको ध्यानाकर्षण गराए । २०७९ को निर्वाचन गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने भन्दै उनले सबैको कारबाही फुकुवा गरेर पार्टी महाधिवेशन र आमनिर्वाचनमा खट्न निर्देशन दिनुपर्ने धारणा राखे । पार्टीको आगामी महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यता वितरण र अनुशासन कारबाहीका विषयले कांग्रेसभित्र तनाव बढाएको छ ।

नेकपा त्यागेका गुरूङ ‘उज्यालो नेपाल पार्टी’ को गण्डकी संयोजक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) त्यागेका तनहुँका मनराज गुरूङ भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको गण्डकी संयोजक बनेका छन् । पार्टीको गत शनिबार भएको गण्डकी प्रदेश भेलामा सामान्य छलफल चले पनि गुरूङलाई सोमबार पार्टीले प्रदेश संयोजक तोकेको हो ।

गुरूङ यसअघि नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य थिए । २०६२/६३ को जनआन्दोलनपछि गुरूङ माओवादी भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आबद्ध भएका थिए । त्यसपछि तनहुँको तत्कालीन फिरफिरे गाविसको पार्टी कमिटी अध्यक्ष, राज्य पुनर्संरचनापछि शुक्लागण्डकी नगरपालिका कमिटीको अध्यक्ष हुँदै प्रदेश कमिटी सचिव बनेका थिए । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष निर्वाचित गुरूङले गत मंसिर १६ गते नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

जेनजी आन्दोलनपछि माओवादी केन्द्रले मंसिरमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरे पनि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसहित विभिन्न दलसँग एकता गर्ने र नेतृत्वमा पुराना नेताहरू नै रहने भएपछि पार्टी परित्याग गरेको उनले बताएका थिए ।
‘माओवादी केन्द्रले मंसिरमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेको थियो । तर नेतृत्वले विभिन्न पार्टीसँग एकता गर्ने नाममा महाधिवेशन र नेतृत्व हस्तान्तरणको एजेन्डा पाखा परेपछि मैले पार्टी परित्याग गरेँ,’ उनले भने ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहँदादेखि नै कुलमान घिसिङको काम गर्ने शैली मन परेर अहिले उज्यालो नेपाल पार्टीमा आबद्ध भएको गुरूङले बताए । ‘पुरानो पार्टीमा असन्तुष्टि पालेर बस्नुभन्दा नयाँ पार्टीमा आबद्ध हुनु ठिक लाग्यो । कुलमान घिसिङको काम गर्ने शैलीप्रति पहिलेदेखि झुकाव थियो। अहिले उनकै पार्टीमा जोडिए,’ उनले भने । पार्टीको नाम कम्युनिष्ट भए मात्र उत्पीडित समुदाय र वर्गको हित गर्ने कुरा गलत हुने भन्दै जुनसुकै पार्टीमा लागे पनि उक्त वर्गको उत्थानमा लाग्न सकिने उनले बताए ।

उज्यालो नेपाल पार्टीको प्रदेश संयोजक तोकिएसँगै गुरूङले अब गण्डकीका ११ वटै जिल्ला, १८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ८५ वटा पालिकामा तदर्थ समिति गठन गर्ने अभियान चलाउने बताएका छन् । यसअघि उज्यालो नेपाल पार्टीका गण्डकी संयोजकमा केन्द्रीय सदस्य कुशल गुरूङ तोकिएका थिए । गण्डकी भेलामार्फत प्रदेश संयोजक मनराज गुरूङलाई तोकेर जिल्ला र पालिकासम्म पार्टीको संगठन विस्तार गर्न लागेका उनले बताए ।