`

गणतन्त्र दिवसमा प्रधानमन्त्री नबोल्ने[भिडियाे]

काठमाडौं । गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सम्बोधन नगर्ने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यस वर्षको गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीबाट औपचारिक सम्बोधन नहुने निर्णय गरिएको हो। टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्न आग्रह गरिएको बताइएको छ।

सरकारले यसपटक गणतन्त्र दिवसलाई थप भव्य र व्यवस्थित रूपमा मनाउने तयारी गरेको भए पनि प्रधानमन्त्रीको सम्बोधन नहुने निर्णयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। प्रधानमन्त्री कार्यालयले भने कार्यक्रम व्यवस्थापन तथा समय तालिकाका कारण यस्तो निर्णय गरिएको जनाएको छ।

गणतन्त्र दिवस नेपालको राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धिका रूपमा प्रत्येक वर्ष जेठ १५ गते मनाइन्छ। २०६५ सालमा संविधानसभाको पहिलो बैठकले राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। त्यसयता हरेक वर्ष विशेष समारोह, सांस्कृतिक कार्यक्रम तथा औपचारिक समारोहमार्फत यो दिवस मनाउने परम्परा रहँदै आएको छ।

२२ वर्षपछी प्रिमियर लिगको उपाधी आर्सनलको पोल्टामा

काठमाडौं । आर्सनलले २२ वर्षपछि प्रिमियर लिगको उपाधि जितेको छ। गएराति दोस्रो स्थानमा रहेको म्यान्चेष्टर सिटीले  बर्नमाउथसँग १–१ गोलको बराबरी खेलेपछि आर्सनलको उपाधि यात्रा सुनिश्चित भएको हो।

प्रिमियर लिगमा अब प्रत्येक टोलीको एक-एक खेल मात्र बाँकी छ। ३७ खेलबाट ८२ अंक जोडेको आर्सनल शीर्षस्थानमा रहेको छ भने सिटी ७८ अंकसहित दोस्रो स्थानमा छ। बराबरीसँगै सिटीले अब अन्तिम खेल जिते पनि आर्सनललाई उछिन्ने सम्भावना समाप्त भएको छ।

बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले पहिलो अग्रता लिएको थियो। खेलको ३८औं मिनेटमा क्रुपी जुनियरले गोल गर्दै बर्नमाउथलाई अघि बढाए। त्यसपछि खेलको अन्तिम समयमा एर्लिङ हालान्डले सिटीका लागि बराबरी गोल फर्काए।

आर्सनलले यसअघि सन् २००४ मा अन्तिमपटक प्रिमियर लिगको उपाधि जितेको थियो। क्लबको इतिहासमा यो १४औं शीर्ष डिभिजन उपाधि तथा चौथो प्रिमियर लिग ट्रफी हो।

सडकमा पैदल हिँडिरहेको बेला कारले ठक्कर दिँदा ८ वर्षीया रोशनीको मृत्यु

काठमाडौं। ललितपुरमा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका-२३ हात्तीवन क्षेत्रमा शनिबार साँझ बाग्मती प्रदेश ०१–०३३ च ८७८० नम्बरको कारले ठक्कर दिँदा ८ वर्षीया बालिकाको ज्यान गएको हो ।

मृत्यु हुनेमा सर्लाही घर भएका अनिरुद्ध शाहकी छोरी रोशनी साह रहेको प्रहरीले जनाएको छ । उनी सडकमा पैदल हिँडिरहेको अवस्थामा कारले ठक्कर दिएको बताइएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी रोशनीलाई उपचारका लागि ग्वार्कोस्थित बीएन्डबी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनापछि कार चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

बङ्गलादेशमा ट्रक दुर्घटना,कम्तीमा १५ जनाको मृत्यु

एजेन्सी। मध्य बङ्गलादेशमा सोमबार बिहान भएको सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । फलामका रड र अतिरिक्त यात्रु बोकेको ट्रक अनियन्त्रित भई पल्टिँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ ।

दुर्घटना राजधानी ढाकाबाट करिब ८३ किलोमिटर उत्तर-पश्चिममा पर्ने टाङ्गाइल जिल्लाको सोराटोल क्षेत्रमा बिहान करिब ५ बजे भएको हो ।

स्थानीय प्रहरीका अनुसार चालकले ट्रकको नियन्त्रण गुमाएपछि सडकमै पल्टिएको थियो । ट्रकमा निर्माण सामग्रीसँगै यात्रुहरू पनि सवार रहेका थिए । तीमध्ये धेरैजसो यात्रुले बाटोमा ‘लिफ्ट’ लिएर यात्रा गरिरहेको बताइएको छ ।

प्रहरीले दुर्घटनापछि घटनास्थलमै धेरै यात्रुको मृत्यु भएको जनाएको छ । घाइतेहरूलाई उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ ।

दुर्घटना इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व ईद अल-अधा नजिकिँदै गर्दा भएको हो । पर्व मनाउन देशका विभिन्न भागबाट मानिसहरू घर फर्किने क्रम बढिरहेका बेला सडकमा यात्रुको चाप उच्च रहेको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेकामध्ये अधिकांश दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर थिए । उनीहरू चाडपर्व मनाउन आफ्ना परिवारसँग भेट्न घर फर्किरहेका थिए ।

प्रत्यक्षदर्शीहरूले ठूलो आवाज सुनेपछि घटनास्थलमा पुगेर उद्धार प्रयास गरेको बताएका छन् । केही यात्रु ट्रकभित्र च्यापिएको अवस्थामा भेटिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बङ्गलादेशमा ट्राफिक नियमको कमजोर पालना, जीर्ण सडक अवस्था र लापरवाह सवारी सञ्चालनका कारण हरेक वर्ष हजारौँ मानिस सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । अधिकारीहरूले सडक सुरक्षामा सुधार आवश्यक रहेको स्वीकार गरेका छन् ।

सुकुम्बासी बस्ती खाली गरेपछिको थापाथली यस्तो देखियो [तस्वीरहरू]

काठमाडौं। सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाइएपछि बागमती नदी किनार क्षेत्र अहिले खुला र फराकिलो देखिन थालेको छ । वर्षौँदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका टहरा तथा अस्थायी संरचना हटाइएपछि उक्त क्षेत्रको स्वरूपमा परिवर्तन देखिएको हो ।

बागमती करिडोर विस्तार तथा नदी किनार संरक्षणको उद्देश्यसहित सञ्चालन गरिएको खाली गराउने अभियानपछि अहिले नदी किनार सफा, व्यवस्थित र खुला देखिएको छ । पहिले बाक्लो टहरा, साँघुरा  र फोहोरले भरिएको क्षेत्र अहिले खुला मैदानजस्तै देखिन थालेको छ ।
थापाथली क्षेत्र बागमती करिडोरको महत्वपूर्ण भाग मानिन्छ । नदी किनार अतिक्रमणका कारण वर्षेनी बाढी, फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको थियो । बस्ती हटाइएपछि करिडोर क्षेत्रको सौन्दर्य बढ्नुका साथै नदी सफाइ अभियानलाई पनि सहज हुने अपेक्षा गरिएको छ ।
यद्यपि बस्ती हटाउने कार्यसँगै विस्थापित परिवारहरूको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । आफूहरू वर्षौँदेखि बस्दै आएको स्थानबाट हटाइँदा वैकल्पिक आवासको व्यवस्था छिटो हुनुपर्ने उनीहरूको माग रहेको छ ।
मानव अधिकारकर्मी तथा अधिकारवादी संस्थाहरूले बस्ती हटाउँदा पुनःस्थापनाको स्पष्ट योजना आवश्यक पर्ने बताएका छन् । उनीहरूका अनुसार विकास निर्माणसँगै नागरिकको आधारभूत आवास अधिकारलाई पनि प्राथमिकता दिनुपर्छ ।
महानगरपालिकाले भने सार्वजनिक जग्गा संरक्षण, नदी किनार व्यवस्थापन र शहरी सौन्दर्य सुधारका लागि अभियान आवश्यक रहेको जनाएको छ । आगामी दिनमा करिडोर क्षेत्रलाई थप व्यवस्थित बनाउँदै हरियाली, पैदलमार्ग र सार्वजनिक उपयोगका संरचना निर्माण गरिने योजना रहेको बताइएको छ ।
थापाथली सुकुम्बासी बस्ती हटाइएपछि अहिले उक्त क्षेत्रको दृश्य पूर्ण रूपमा बदलिएको छ । पहिले अव्यवस्थित र भीडभाडयुक्त देखिने नदी किनार अहिले खुला, सफा र व्यवस्थित देखिन थालेको छ।

बजेट बनाउन व्यस्त अर्थमन्त्रीको मन्त्रालयमै बास

काठमाडौं। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने संवैधानिक समय नजिकिँदै गर्दा अर्थ मन्त्रालयमा बजेट निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अहिले बजेट लेखन तथा अन्तिम परिमार्जनमा पूर्ण रूपमा केन्द्रित रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष जेठ १५ गते संघीय बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । सोहीअनुसार अर्थ मन्त्रालय अहिले अन्तिम तयारीमा जुटेको हो । सीमित स्रोत, बढ्दो विकास आवश्यकताहरू र आर्थिक दबाबबीच सन्तुलित तथा प्रभावकारी बजेट ल्याउने चुनौती सरकारसमक्ष रहेको बताइन्छ । 

मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री वाग्ले पछिल्ला दिनहरूमा दैनिक करिब १६ घण्टा मन्त्रालयमै बिताइरहेका छन् । उनी बिहान ७ देखि ८ बजेको बीचमा मन्त्रालय पुग्ने र राति ११ देखि १२ बजेतिर मात्रै निवास फर्किने गरेको बताइएको छ ।

बजेट लेखनमा संलग्न कर्मचारीहरू पनि मन्त्रालयमै लामो समय बसेर काम गरिरहेका छन् । बिहानदेखि रातिसम्म निरन्तर छलफल, मस्यौदा तयार गर्ने र परिमार्जन गर्ने कार्य भइरहेको स्रोतको भनाइ छ । धेरैजसो कर्मचारीहरूले खाना तथा खाजासमेत मन्त्रालयमै खाने गरेका छन् । 

अर्थमन्त्री वाग्ले अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रमहरूमा सीमित रूपमा मात्र सहभागी भइरहेका छन् । यसबीच उनले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेदेखि लिएर विभिन्न विधेयकहरू प्रस्तुत गर्ने तथा बजेटका सिद्धान्त र प्राथमिकताहरू संसदमा राख्ने कार्य सम्पन्न गरिसकेका छन् ।

संसदीय समितिका बैठकहरूमा समेत सहभागी भएका मन्त्री वाग्ले अहिले पूर्ण रूपमा बजेट तयारीमै केन्द्रित रहेको बताइन्छ ।अर्थमन्त्री वाग्लेले पछिल्ला महिनाहरूमा कुनै पनि विदेश भ्रमण गरेका छैनन् । बजेट तयारीलाई प्राथमिकता दिँदै उनले केही अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा प्रत्यक्ष उपस्थित हुन नसकी भर्चुअल सम्बोधन गरेका छन् ।

अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा आयोजित ‘नेपाल बहस’ कार्यक्रममा समेत उनी मन्त्रालयबाटै भर्चुअल रूपमा सहभागी भएका थिए । संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा पनि उनी उपस्थित नभई मन्त्रालयका अधिकारीलाई पठाइएको थियो ।

त्यस्तै उज्बेकिस्तानमा आयोजित एक अन्तर्राष्ट्रिय बैठकमा पनि अर्थमन्त्रीको सट्टा अर्थ मन्त्रालयका सहसचिवले नेपालको प्रतिनिधित्व गरेका थिए । 

बजेट तयारीकै क्रममा अर्थमन्त्री वाग्लेले पूर्वअर्थमन्त्रीहरूसँग समेत छलफल गरेका छन् । गत जेठ ७ गते आयोजित छलफलमा आठ जना पूर्वअर्थमन्त्रीहरूले बजेट सम्बन्धी सुझाव दिएका थिए ।

उक्त छलफलमा डा. प्रकाशचन्द्र लोहनी, विष्णु पौडेल, डा. युवराज खतिवडा, जनार्दन शर्मा, वर्षमान पुन, डा. रामेश्वर खनाल, डा. प्रकाशशरण महत र शंकर कोइरालाले आ-आफ्ना धारणा राखेका थिए । 

अर्थ मन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको नेतृत्वमा बजेट मस्यौदा तयार पार्ने विशेष टोली गठन गरेको छ । उक्त टोलीमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख तथा वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख लगायतका अधिकारीहरू संलग्न छन् ।

त्यसैगरी अर्थसचिव र राजस्व सचिव पनि बजेट निर्माण प्रक्रियामा सक्रिय रूपमा सहभागी छन् । 

बजेट लेखनका लागि मन्त्रालयभित्र छुट्टै कार्यकक्ष व्यवस्था गरिएको छ, जहाँ विशेष टोलीले मस्यौदा तयार गर्ने काम गरिरहेको छ । त्यहाँबाट आएका प्रस्तावहरूलाई अध्ययन गरी पुनः परिमार्जन गर्ने काम अर्थमन्त्री स्वयंले गर्ने गरेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार अर्थमन्त्रीले बजेट वक्तव्यको प्रत्येक वाक्यलाई सूक्ष्म रूपमा अध्ययन गर्ने मात्र होइन, भाषागत सुधार र ह्रस्व-दीर्घसमेत ध्यानपूर्वक हेर्ने गरेका छन् ।

बजेट निर्माणका क्रममा अर्थमन्त्री र प्रधानमन्त्रीबीच नियमित समन्वय भइरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री कार्यालयबाट समेत विभिन्न सुझावहरू समन्वयमार्फत आउने गरेको बताइन्छ ।

यद्यपि प्रधानमन्त्री कार्यालयमा अलग्गै बजेट लेखन भइरहेको भन्ने हल्ला पूर्ण रूपमा गलत रहेको स्रोतको दाबी छ । प्रधानमन्त्री र अर्थमन्त्रीबीच निरन्तर सहकार्य र समझदारीमा बजेट निर्माण भइरहेको बताइएको छ ।

बजेट निर्माण अन्तिम चरणमा पुगेसँगै अर्थ मन्त्रालयभित्र गतिविधि अझै तीव्र बनेको छ । सीमित स्रोत र बढ्दो अपेक्षाबीच आगामी बजेटलाई सन्तुलित र प्रभावकारी बनाउन सरकारमाथि ठूलो चुनौती रहेको विश्लेषकहरू बताउँछन्।

७० वर्षअघिको वन नीतिले आज करोडौँ मानिस ‘एलर्जी’बाट पीडित

काठमाडौं। जापानमा पछिल्ला वर्षहरूमा वसन्त ऋतु सुरु हुनासाथ देखिने एउटा समस्या अहिले राष्ट्रिय स्वास्थ्य संकटको रूपमा विकसित भएको छ । सामाजिक सञ्जालमा केही महिनाअघि सदाबहार वनमाथिबाट धुवाँजस्तै फैलिएको दृश्य भाइरल बनेपछि धेरै मानिस चकित भए । तर त्यो धुवाँ रूखबाट निस्किएको परागकण थियो ।

हरेक वर्ष वसन्त सुरु भएसँगै जापानका सहरहरूमा मास्क लगाएका मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढ्ने गर्छ । यसको मुख्य कारण ‘हे फिभर’ अर्थात् परागकणका कारण हुने एलर्जी हो । जलवायु परिवर्तनका कारण वसन्त चाँडै आउन थालेपछि समस्या झन् बढ्दै गएको बताइन्छ ।

हे फिभर, जसलाई एलर्जिक राइनाइटिस पनि भनिन्छ। अहिले जापानमा अत्यन्तै व्यापक समस्या बनेको छ । विभिन्न अध्ययनअनुसार जापानको करिब ४३ प्रतिशत जनसंख्यामा यसको मध्यमदेखि गम्भीर लक्षण देखिने गरेको छ ।

तुलनात्मक रूपमा बेलायतमा यस्तो समस्या झन्डै २६ प्रतिशत र अमेरिकामा १२ देखि १८ प्रतिशत जनसंख्यामा मात्रै देखिन्छ ।

एलर्जीका कारण हाच्छ्युँ आउने, आँखा पोल्ने, नाकबाट पानी बग्ने मात्र होइन। निद्रामा समस्या, थकान र ध्यान केन्द्रित गर्न कठिनाइसमेत हुने गरेको चिकित्सकहरू बताउँछन् । यसले काम गर्ने क्षमता घटाउनुका साथै अर्थतन्त्रमा समेत असर पारिरहेको छ ।

अनुमानअनुसार जापानमा हे फिभरको चरम समयमा बिरामी बिदा, उत्पादनशीलतामा कमी र उपभोक्ता खर्च घट्दा दैनिक करिब १ अर्ब ६० करोड अमेरिकी डलर बराबरको आर्थिक प्रभाव पर्ने गरेको छ ।

विशेषज्ञहरूका अनुसार अहिलेको समस्या अचानक सिर्जना भएको होइन । यसको जरा दोस्रो विश्वयुद्धपछिको वन नीतिसँग जोडिएको छ ।

युद्धताका इन्धन अभाव भएपछि जापानले आफ्ना प्राकृतिक वनहरू व्यापक रूपमा काटेर घरेलु तथा औद्योगिक प्रयोजनमा प्रयोग गरेको थियो । त्यसपछि पहिरो र बाढीको जोखिम बढेपछि सरकारले ठूला वृक्षरोपण अभियान सञ्चालन गर्‍यो ।

त्यसबेला सरकारले छिटो बढ्ने दुई स्थानीय प्रजाति जापानी देवदार ‘सुगी’ र जापानी साइप्रस ‘हिनोकी’  ठूलो मात्रामा रोपेको थियो । ती रूखले छिटो वन पुनर्स्थापना गर्न र भविष्यमा काठ उत्पादनमा सहयोग गर्ने विश्वास गरिएको थियो ।

आज ती वनहरूले जापानको विशाल भूभाग ढाकेका छन् । तर समस्या के भयो भने सुगी र हिनोकीले अत्यधिक मात्रामा हलुका परागकण उत्पादन गर्छन्, जुन हावासँगै सहरसम्म पुग्छ ।

विशेषज्ञहरूका अनुसार यी रूख ३० वर्षपछि परिपक्व हुँदा अझ धेरै परागकण उत्पादन गर्छन् र अहिले अधिकांश वन त्यही अवस्थासम्म पुगेका छन् ।

समस्या नियन्त्रणका लागि जापान सरकारले सन् २०२३ मा एलर्जीलाई राष्ट्रिय सामाजिक समस्या घोषणा गर्दै ३० वर्षभित्र परागकण ५० प्रतिशत घटाउने लक्ष्य सार्वजनिक गरेको छ ।

सरकारले उच्च परागकण उत्पादन गर्ने वन क्षेत्र क्रमशः घटाउने, नयाँ कम परागकण उत्पादन गर्ने बिरुवा रोप्ने र वनलाई जैविक विविधतायुक्त बनाउने योजना अघि सारेको छ ।

तर यो कार्य अत्यन्त चुनौतीपूर्ण मानिएको छ। किनकि जापानको करिब ६८ प्रतिशत भूभाग वनले ढाकिएको छ । त्यसमध्ये ठूलो हिस्सा सुगी र हिनोकीकै वन हुन् ।

जापानका विभिन्न स्थानीय तह र संस्थाहरूले अहिले एकै प्रकारका वनलाई मिश्रित तथा प्राकृतिक वनमा रूपान्तरण गर्ने काम गरिरहेका छन् ।

कोबे, ओकायामा, ओसाका लगायतका क्षेत्रमा सुगी र हिनोकी हटाएर चौडा पात भएका रूखहरू रोप्ने अभियान सञ्चालन भइरहेको छ । यसबाट परागकण घट्नुका साथै चराचुरुङ्गी, भ्यागुता, कछुवा र अन्य वन्यजन्तु पनि फर्किन थालेको बताइएको छ ।

विशेषज्ञहरूका अनुसार यस्ता वनहरू जैविक विविधताका दृष्टिले बढी स्वस्थ हुन्छन् र दीर्घकालमा वातावरणीय सन्तुलन कायम गर्न सहयोग गर्छन् ।

जलवायु परिवर्तनका कारण तापक्रम र मौसम चक्रमा आएको परिवर्तनले परागकणको फैलावट अझ तीव्र बनाइरहेको छ । जापानले हालैका वर्षहरूमा इतिहासकै सबैभन्दा चाँडो परागकण फैलिएको अनुभव गरेको बताइएको छ ।

यद्यपि जापानका वनहरूले ठूलो मात्रामा कार्बन सोस्ने भएकाले वन व्यवस्थापन गर्दा वातावरणीय सन्तुलन पनि ध्यानमा राख्नुपर्ने चुनौती छ ।

जापानमा अहिले परागकण पूर्वानुमान प्रणाली, विशेष औषधि तथा दीर्घकालीन इम्युनोथेरापीमा पनि अनुसन्धान भइरहेको छ । वैज्ञानिकहरूले एलर्जी कम गर्न आनुवंशिक रूपमा परिमार्जित धानसमेत परीक्षण गरिरहेका छन् ।

[अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार गरिएको]

सुधन गुरुङसँगका तस्वीर भाइरल भएपछि…

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफूविरुद्ध भइरहेको आलोचनाप्रति प्रतिक्रिया दिएकी छन् । उनले आफू सुन्दर देखिएकै आधारमा आलोचना गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

पूर्वगृहमन्त्री सुधन गुरुङसँग खिचिएका उनका केही तस्बिर पछिल्ला दिनमा सामाजिक सञ्जालमा भाइरल बनेपछि त्यसलाई लिएर विभिन्न प्रतिक्रिया आएका थिए । विद्यालय वा कलेज जीवनको शैली झल्किने ढंगमा खिचिएका ती तस्बिरलाई लिएर केहीले प्रशंसा गरेका छन् भने धेरैले आलोचनात्मक टिप्पणी गरेका छन् ।

यसै विषयमा प्रतिक्रिया दिँदै सांसद भट्टराईले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अरू भ्रष्ट हुँदा केही बोल्न नसक्ने व्यक्तिले मलाई भने केवल सुन्दर देखिएकै आधारमा आलोचना गरिरहेको छ ।’

उनले आफ्नो आलोचना गर्नेहरूलाई लक्षित गर्दै यसलाई ‘पाखण्डीपनको पराकाष्ठा’ समेत भनेकी छन् ।

भट्टराईले अगाडि लेखेकी छन्, ‘अब म आलोचनाको कारण निराश हुने कि, मेरो सुन्दरताले यति धेरै ध्यान तानेकोमा ?’

साथै उनले आफू पनि प्रश्न गर्ने ठाउँबाट राजनीतिमा आएको उल्लेख गर्दै नयाँ पुस्ता परिवर्तनको उद्देश्यसहित राजनीतिमा आएको बताएकी छन् । धेरै नबोल्ने तर चुप पनि नबस्ने धारणा राख्दै उनले सोच र दृष्टिकोण फराकिलो बनाउन आग्रह गरेकी छन् ।

उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा थप बहस सुरु भएको छ । केहीले व्यक्तिगत स्वतन्त्रताको पक्षमा समर्थन जनाएका छन् भने केहीले सार्वजनिक पदमा रहेका व्यक्तिहरू सामाजिक सञ्जालमा प्रस्तुत हुँदा थप संयमित हुनुपर्ने टिप्पणी गरेका छन् ।

सुनसरीकी भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी हुन्। 

उनको स्टाटस जस्ताको त्यस्तै: 

मलाई पछिल्ला दिनहरूमा आएका आलोचनाहरू सुन्दा अनौठो लाग्ने गरेको छ।
अरू भ्रष्ट हुँदा केही बोल्न नसक्ने व्यक्तिले मलाई भने केवल सुन्दर देखिएकै आधारमा – ( उहाँहरूको स्टेटमेन्ट) आलोचना गरिरहेको छ !
पाखण्डीपनको पराकाष्ठा।

अब म आलोचनाको कारण निराश हुने कि, मेरो सुन्दरताले यति धेरै ध्यान तानेकोमा ?

जवाफ दिने ठाउँमा पुगे पनि नबिर्सिनुस्, म पनि त्यही प्रश्न गर्ने ठाउँबाटै आएको हो । सायद तपाईं पनि आउन सक्नुहोला, त्यसैले आफ्ना भूमिका, विचार र सोचलाई फराकिलो पारेर आउनुहोला !

देशमा पछिल्ला वर्षबाट भइरहेको अवस्थाले नै नयाँ पुस्ता राजनीतिमा आएका हौं ।
चुप लागेर बस्ने पुस्तामा पर्दैनौं, त्यसको मतलब धेरै बोलिराख्नेमा पनि पर्दैनौं ।

ल हस्, शुभदिन ।

पत्रकार जगन्नाथ दुलाल सम्मानित

काठमाडौं। न्यूज २४ टेलिभिजनका वरिष्ठ संवाददाता जगन्नाथ दुलाल रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले साधारणसभाकाे अवसर पारेर पत्रकार दुलाललाई सम्मानसहित पुरस्कृत गरेकाे हाे । दुलालले यसअघि राष्ट्रपतिबाट उत्कृष्ट युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए ।

संसदीय मामला र अदालत रिपोर्टिङमा रूचि राख्ने पत्रकार दुलालले काराेबार द‌ैनिक, बाह्रखरी डटकम, माउन्टेन टेलिभिजन, हिमालय टेलिभिजनमा वरिष्ठ संवाददाताका रूपमा काम गरिसकेका छन् ।

हाल उनी न्यूज २४ द‌ैनिका राजनीतिक ब्यूराेमा वरिष्ठ संवाददाता र न्यूज २४ टेलिभिजनमा २४ टक नामक टक शाेका सञ्चालन हुन् ।

दुलाल मेलम्ची बाढीका बेला आफ्नै घरजग्गा खाेलाले बगाइरहेका बेला लाइभ रिपोर्टिङ गर्न पुगेका थिए । त्यतिबेला दुलाल न्यूज २४ टेलिभिजनमा कार्यरत थिए ।

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर बढाउन सांसदहरुको जोड

काठमाडौं।  नेपाल विकास अनुसन्धान प्रतिष्ठान ले आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवालाहरूले सुर्तीजन्य पदार्थ, मदिरा तथा चिनीयुक्त पेय पदार्थमा कर र अन्तःशुल्क वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।

‘आगामी बजेटमा सुर्ती, मदिरा तथा चिनीयुक्त पदार्थमा कर र अन्तःशुल्क’ विषयक कार्यक्रममा सहभागी कर विज्ञ, अर्थशास्त्री र सांसदहरूले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत कर दर बढाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरूले विगतमा गरिएको कर वृद्धि अपर्याप्त रहेको टिप्पणी गरे ।

कार्यक्रममा बोल्दै विज्ञहरूले सामान्य कर वृद्धिले मात्र जनस्वास्थ्यमा अपेक्षित सुधार नआउने बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा कम्तीमा ७५ प्रतिशत कर हुनुपर्ने उल्लेख गर्दै नेपालमा हाल करिब ४१ प्रतिशत मात्र कर रहेको जानकारी दिइयो ।

विज्ञहरूले सन् २०३५ सम्म सुर्तीजन्य पदार्थमा करको दर कम्तीमा ५० प्रतिशत पुर्‍याउने लक्ष्य सरकारले लिनुपर्ने बताएका छन् । साथै, बजेटमार्फत कर प्रणालीमा संरचनागत सुधार आवश्यक रहेको धारणा राखिएको छ ।

कर विज्ञ डा. रुप खड्का ले स्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने वस्तुमा कर निर्धारण गर्दा सैद्धान्तिक र प्राविधिक पक्षलाई ध्यान दिनुपर्ने बताए । उनले हालको प्रतिशतमा आधारित कर प्रणाली प्रभावकारी नभएको टिप्पणी गरे ।

रामचरणले मागे बुमराहसँग माफी

काठमाडौं।  तेलुगु फिल्म अभिनेता राम चरण ले भारतीय क्रिकेटर जसप्रीत बुमराह सँग सार्वजनिक रूपमा माफी मागेका छन् ।

आफ्नो आगामी फिल्मको प्रमोशनका क्रममा राम चरणले गल्तीवश बुमराहलाई फुटबल खेलाडी भनेर सम्बोधन गरेपछि उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । त्यसपछि उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत आफ्नो भनाइ सच्याउँदै माफी मागेका हुन् ।

राम चरणले इन्स्टाग्राममा लेख्दै यो घटना भीड र उत्साहका बीच भएको मानवीय त्रुटि भएको बताएका छन् । उनले बुमराहप्रति गहिरो सम्मान रहेको उल्लेख गर्दै उनलाई उत्कृष्ट बलरको रूपमा प्रशंसा गरेका छन् ।

उनले बुमराहको खेलप्रति आफू ठूलो प्रशंसक रहेको भन्दै लगातार ब्याट्सम्यानहरूलाई दबाबमा राख्ने उनको क्षमता सबै भारतीयका लागि गर्वको विषय भएको टिप्पणी गरेका छन् ।

 

‘रवि’ किन जाँदैछन् ‘भारत’ ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी जेठ १८ गते भारत प्रस्थान गर्ने तयारीमा छन् । दुई दिने भ्रमणका क्रममा उनले भारतका उच्च राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट हुने सम्भावना रहेको स्रोतको भनाइ छ ।

त्यसैगरी भारतीय जनता पार्टी (भाजपा) का पदाधिकारीहरूसँग पनि भेटघाट हुने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।

भाजपा निकट स्रोतका अनुसार सत्तारुढ दलका नेताको हैसियतमा लामिछानेलाई औपचारिक भ्रमणका लागि निमन्त्रणा गरिएको हो । यसअघि पनि भारतले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई यस्तै औपचारिक भ्रमण गराएको उदाहरण रहेको बताइन्छ ।

यद्यपि, यस विषयमा सम्बन्धित निकायबाट औपचारिक पुष्टि भने सार्वजनिक गरिएको छैन ।

एसियन गेम क्वालिफायरका लागि दीपेन्द्रको कप्तानीमा १४ सदस्यीय टोली घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले एसियन गेम्स क्वालिफायरका लागि १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरी ले गर्नेछन् ।

घोषित टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामी, शेर मल्ल, नन्दन यादव, करण केसी, आरिफ शेख र शाहब आलम समावेश छन् ।

एसियन गेम्स क्वालिफायर टी–२० फरम्याटमा मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा आयोजना हुनेछ ।

फरार रहेका ३१९ जना पक्राउ

काठमाडौं। नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दामा फरार रहेका २ हजार ३१९ जना प्रतिवादी पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट १२ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३६६ जना, कोशी प्रदेशबाट ३२६ जना, मधेश प्रदेशबाट ७३० जना, बागमती प्रदेशबाट १९९ जना, गण्डकी प्रदेशबाट २०४ जना, लुम्बिनी प्रदेशबाट ३३० जना, कर्णाली प्रदेशबाट ६८ जना र सुदूरपश्चिम प्रदेशबाट ८४ जना रहेका छन् ।

उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूमाथि कुल ८२५ वर्ष २ महिना २५ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार ११० रुपैयाँ जरिवाना समेत असुल उपर गरिएको जनाइएको छ ।

क्यान अध्यक्ष चन्दविरुद्ध पद दुरुपयोगको मुद्दा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दविरुद्ध पद दुरुपयोगसम्बन्धी मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८३ वैशाख १६ गते चन्दविरुद्ध उजुरी दर्ता भएको थियो । सोही उजुरीलाई आधार मानेर आयोगले वैशाख २९ गते युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको बताइएको छ ।

त्यसपछि मन्त्रालयले वैशाख ३१ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई १० दिनभित्र जवाफ दिन निर्देशनसहित पत्र पठाएको हो । राखेपले भने सोही विषयमा क्यानसँग औपचारिक रूपमा जवाफ माग गरेको जनाएको छ ।

उजुरीमा अध्यक्ष चन्दले अमेरिकामा भएको विश्वकपका क्रममा जर्सी तथा टिकट खरिद प्रक्रियामा अनियमितता गरेको आरोप उल्लेख गरिएको छ । साथै, उनी डाक्टर कोटामा अमेरिका गएको र आफ्नो श्रीमतीलाई पनि क्यानकै खर्चमा भ्रमणमा लगिएको दाबी गरिएको छ ।

त्यस्तै क्यानका कोषाध्यक्ष पदमबहादुर खड्का पनि श्रीमतीसहित संघकै खर्चमा अमेरिका गएको आरोपसमेत उजुरीमा उल्लेख छ ।

पत्रमा सार्वजनिक कोषको अपचलन, विश्वकप भ्रमणमा आर्थिक अनियमितता, कर्मचारी भर्ना प्रक्रियामा दुरुपयोग, अपाङ्गता भत्ता सम्बन्धी खर्चमा अनियमितता तथा वार्षिक साधारण सभा र जर्सी-टिकट खरिद प्रक्रियामा अनियमितता भएको विषयमा स्पष्टिकरण माग गरिएको छ ।

अहिले उक्त विषयमा सम्बन्धित निकायहरूबाट छानबिन तथा जवाफ प्रक्रिया अघि बढिरहेको बताइएको छ ।

सरकारले यसपाली तलब दोब्बर बढाउने ?

काठमाडौं। यसअघि आर्थिक वर्ष २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिएको थियो। त्यसयता भने तलब समायोजन भएको छैन।

गत वर्ष पनि तलब वृद्धि गर्ने चर्चा भए पनि राजस्व संकलन कमजोर भएकाले सरकार पछि हटेको थियो।

निजामती सेवा ऐनअनुसार तलब भत्ता पुनरावलोकन समितिले प्रत्येक तीन वर्षमा राजस्व वृद्धि दर, कुल दरबन्दी संख्या र विगत तीन वर्षको महँगी भत्ता समेतलाई आधार मानेर तलब, भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्नुपर्ने व्यवस्था छ । ऐनको दफा २७ अनुसार गत वर्ष नै कर्मचारीको तलब पुनरावलोकन हुनुपर्ने भए पनि राजस्वले नधान्ने कारण देखाउँदै सरकार पछि हटेको थियो ।

 तर यसपटक तलब वृद्धि हुने सम्भावना देखिएको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्। मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बनेको तलब भत्ता पुनरावलोकन समितिले तलब वृद्धि गर्न सिफारिस गरेको उच्च स्रोतले जनाएको छ । समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेल सदस्य रहेका छन् ।

सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार समितिले कार्यालय सहयोगीको मासिक तलब ३५ हजार रुपैयाँ र मुख्यसचिवको १ लाख २१ हजार रुपैयाँ बनाउन सिफारिस गरेको छ । हाल कार्यालय सहयोगीको तलब २७ हजार ६१२ रुपैयाँ र मुख्यसचिवको ७७ हजार २११ रुपैयाँ रहेको छ ।

सिफारिसअनुसार तल्लो तहका कर्मचारीको तलब करिब २७ प्रतिशतले र मुख्यसचिवको तलब करिब ५६.७१ प्रतिशतले वृद्धि हुने देखिन्छ ।

स्रोतका अनुसार समितिले तलब वृद्धि गर्नुपर्ने सिफारिस गरिसकेको छ तर अन्तिम निर्णय भने सरकारले देशको आर्थिक अवस्था हेरेर गर्नेछ ।

अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘तलब भत्ता वृद्धिको सिफारिस आएको छ। तर बजेट निर्माणका क्रममा यस विषयमा हालसम्म औपचारिक छलफल भएको छैन । केही दिनमा निर्णय हुन सक्छ ।’

यसैबीच निजामती कर्मचारीहरूको संगठनले आधारभूत तलब ३८ हजार ८६२ रुपैयाँ बनाउन माग गरेको छ । उनीहरूका अनुसार वर्तमान बजार मूल्य, आवश्यक क्यालोरी तथा जीवनयापन खर्चका आधारमा यो तलब आवश्यक रहेको हो ।

कर्मचारीहरूले सामाजिक सुरक्षा, स्वास्थ्य सुविधा, निवृत्तिभरण, आवास सुविधा, पेशागत सुरक्षा, क्षमता विकास, ट्रेड युनियन अधिकार तथा डिजिटल प्रशासन सुधार जस्ता मागसमेत अघि सारेका छन् ।

यसअघि २०७९ मा पूर्वमुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा बनेको उच्चस्तरीय तलब सुविधा आयोगले पनि कर्मचारीको आधारभूत तलब ३५ हजार रुपैयाँ र मुख्यसचिवको तलब १ लाख २२ हजार ५०० रुपैयाँ बनाउन सिफारिस गरेको थियो ।

आयोगले सबैभन्दा तल्लो र उच्च तहका कर्मचारीको तलब अनुपात १:३.५ हुनुपर्ने सुझावसमेत दिएको थियो । सोही संरचनाअनुसार हालको सिफारिस गर्दा तल्लो तहको तुलनामा उच्च तहको तलब वृद्धि प्रतिशत बढी देखिएको छ ।

आयोगका एक सदस्यका अनुसार तलब वृद्धिसँगै आवास, स्वास्थ्य र परिवारका लागि शिक्षा सुविधा सुधार गर्न सके दीर्घकालीन रूपमा कर्मचारी प्रणाली अझ प्रभावकारी बन्न सक्छ । साथै, अनावश्यक खर्च कटौती गर्दै राज्यले आर्थिक भार नबढाई पनि सुधार गर्न सक्ने विकल्पहरू प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।

सरकारले आगामी बजेटमार्फत कर्मचारीको तलब वृद्धिबारे अन्तिम निर्णय गर्ने अपेक्षा गरिएको छ ।

महँगी र दैनिक खर्चको दबाब बढिरहेको अवस्थामा यो सिफारिसलाई महत्वपूर्ण रूपमा हेरिएको छ। सरकारले यो प्रस्ताव कार्यान्वयन गरेमा सरकारी कर्मचारीहरूको तलब संरचनामा उल्लेखनीय परिवर्तन आउने विश्वास गरिएको छ।

अमेरिका–इरान तनाव : ६० दिन युद्धविराम हुने संकेत

एजेन्सी। अमेरिका र इरानबीच लामो समयदेखि जारी तनावबीच दुवै देश ६० दिनका लागि युद्धविराम विस्तार गर्ने सम्भावित समझौतामा नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

रिपोर्टअनुसार प्रस्तावित समझौताअन्तर्गत अन्तर्राष्ट्रिय समुद्री मार्गका रूपमा महत्वपूर्ण मानिने हर्मुज जलडमरु (स्ट्रेट अफ हर्मुज) पुनः खोल्ने व्यवस्था हुन सक्छ । यसले विश्वव्यापी तेल आपूर्ति र समुद्री व्यापारलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

सम्झौता कार्यान्वयन भएमा इरानले हर्मुज क्षेत्रमा राखिएका बारुदी सुरुङ हटाउने सहमति जनाउन सक्ने बताइएको छ । त्यसको बदलामा अमेरिकाले इरानमाथि लगाइएका केही आर्थिक तथा बन्दरगाहसम्बन्धी प्रतिबन्धहरू खुकुलो पार्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

त्यसैगरी इरानलाई सीमित रूपमा तेल निर्यात गर्न अनुमति दिने सम्भावना पनि छलफलको हिस्सा रहेको उल्लेख छ । साथै, इरानले भविष्यमा कहिल्यै परमाणु हतियार निर्माण प्रयास नगर्ने प्रतिबद्धता जनाउने विषय पनि प्रस्तावित समझौतामा समेटिन सक्ने बताइएको छ ।

यस्तै, इरानको युरेनियम सम्वर्धन कार्यक्रमलाई सीमित गर्ने तथा उच्च सम्वर्धित युरेनियम भण्डार हटाउने विषयमा पनि वार्ता जारी रहेको रिपोर्टमा उल्लेख छ ।

सम्झौताले मध्यपूर्वमा जारी तनाव, विशेषगरी इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व कम गर्ने प्रयासलाई पनि समेट्न सक्ने बताइएको छ । यद्यपि हिजबुल्लाहले आक्रमण गरेमा इजरायललाई प्रतिकार गर्ने अधिकार रहने व्यवस्था पनि राखिन सक्ने जनाइएको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले सम्भावित सम्झौता कार्यान्वयनका लागि आफ्नो देश सहयोग गर्न तयार रहेको बताएका छन् । उनले अमेरिकी राष्ट्रपति र मध्यपूर्वका नेताहरूसँगको छलफलमा यो धारणा व्यक्त गरेको टर्कीको राष्ट्रपति कार्यालयले जनाएको छ ।

एर्दोगानका अनुसार हर्मुज जलडमरुमा व्यापारिक जहाजहरूको आवतजावत सहज भएमा क्षेत्रीय स्थिरता बढ्ने र विश्व अर्थतन्त्रलाई समेत राहत मिल्नेछ । यो मार्ग विश्वको ठूलो तेल व्यापारको प्रमुख केन्द्र मानिन्छ ।

यता इजरायलमा भने सम्भावित सम्झौताप्रति चिन्ता व्यक्त गरिएको छ । केही इजरायली अधिकारीहरूले यो समझौताले इरानलाई रणनीतिक रूपमा थप बलियो बनाउने जोखिम रहेको बताएका छन् ।

उनीहरूले हर्मुज क्षेत्रलाई इरानले भविष्यमा दबाबको उपकरणका रूपमा प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसलाई मुख्य रूपमा आर्थिक स्थिरता र ऊर्जा बजारको नियन्त्रणसँग जोडेर हेरेको बताइएको छ ।

(लु) का कारण १६ जनाको मृत्यु

एजेन्सी। दक्षिण भारतका विभिन्न क्षेत्रमा यस वर्षको गर्मीमा चलेको अत्यधिक तातो लहर (लु) का कारण कम्तीमा १६ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्। देशका धेरै भागमा फैलिएको तीव्र गर्मीपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ।

भारतमा गर्मी मौसम सामान्य भए पनि पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण लु पहिलेभन्दा लामो समयसम्म, बढी पटक र अझ तीव्र रूपमा देखिन थालेको वैज्ञानिक अध्ययनहरूले देखाएका छन्।

करिब एक अर्ब ४० करोड जनसंख्या भएको भारतका विभिन्न सहरमा हालै तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन प्रभावित भएको छ।

दक्षिणी राज्य तेलङ्गानामा सबैभन्दा धेरै मृत्यु दर्ता भएको छ। त्यहाँका राजस्व मन्त्री पोङ्गुलेटी श्रीनिवास रेड्डीले जनस्वास्थ्य सुरक्षाका लागि राज्यभर उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

उनको कार्यालयले जारी गरेको सूचनामा अत्यधिक गर्मी असामान्य स्तरमा पुगेको उल्लेख गर्दै समयमै चेतावनी प्रणाली र सावधानीका उपाय अपनाउन निर्देशन दिइएको छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मीले शरीरमा पानीको कमी गराउने, रगत बाक्लो बनाउने र गम्भीर अवस्थामा अंगहरूले काम गर्न छोड्ने जोखिम बढाउने गर्छ।

तेलङ्गानाको स्थानीय प्रशासनले वृद्ध, बालबालिका र गर्भवती महिलालाई अत्यावश्यक नभएसम्म दिउँसो बाहिर ननिस्कन आग्रह गरेको छ।

भारतीय मौसम विभागले पनि देशका धेरै क्षेत्रमा सामान्यभन्दा बढी तापक्रम र लु अझै जारी रहने चेतावनी दिएको छ।

राजधानी नयाँ दिल्ली र आसपासका क्षेत्रमा यस साता लगातार तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसले विद्युत् माग रेकर्ड स्तरमा पुर्‍याएको छ।

विशेषज्ञहरूका अनुसार दिन मात्र होइन, राति पनि तापक्रम उच्च रहँदा शरीरलाई पर्याप्त आराम नपाइने भएकाले स्वास्थ्य जोखिम अझ बढिरहेको छ।

विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको भारत हरितगृह ग्यास उत्सर्जन गर्ने देशमध्ये तेस्रो स्थानमा पर्छ र ऊर्जा उत्पादनका लागि कोइलामा उच्च निर्भरता राख्छ।

भारतले सन् २०७० सम्म शून्य उत्सर्जन गर्ने लक्ष्य राखेको छ, जुन धेरै विकसित देशहरूको लक्ष्यभन्दा करिब दुई दशक पछाडि हो।

यसअघि सन् २०१६ मा राजस्थानको फलोदीमा ५१ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। जुन भारतको हालसम्मकै सबैभन्दा उच्च तापक्रम मानिन्छ।

साइबर ब्यूरो सुस्त : सात महिनासम्म भएन उजुरीमा कारबाही

काठमाडौं। जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

आइतबार जानकी मन्दिरमै आयोजित पत्रकार सम्मेलनमा उनले करिब सात महिना अघि दिएको उजुरीमा हालसम्म कुनै कारबाही नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

उनका अनुसार २०८२ साल कार्तिक ९ गते साइबर ब्यूरोमा फेक फेसबुक प्रोफाइलबारे उजुरी दर्ता गरिएको थियो । तर लामो समय बितिसक्दा पनि ती फेक प्रोफाइल अझै सक्रिय रहेको र दोषी पहिचान नभएको उनको भनाइ छ ।

महन्त दासले जानकी मन्दिरको नाम र आफ्नै व्यक्तिगत नाम प्रयोग गरेर बनाइएका नक्कली फेसबुक प्रोफाइलमार्फत गलत सामग्री र स्टाटसहरू पोस्ट हुँदै आएको बताए ।

उनले सो विषयमा जिल्ला प्रहरी कार्यालय हुँदै काठमाडौंको साइबर ब्यूरोमा समेत उजुरी दिइएको तर प्रभावकारी कारबाही नभएको गुनासो गरे ।

उनका अनुसार ती फेक प्रोफाइलमार्फत विशेषगरी महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाउने र मन्दिर तथा आफ्नो व्यक्तिगत छविमा आँच आउने सामग्री पोस्ट गर्ने गरिएको छ ।

यसले धार्मिक संस्थाको गरिमा मात्र नभई श्रद्धालुहरूको भावना समेत प्रभावित भएको उनले बताए । साथै, आफू मानसिक तनावमा परेको उनको भनाइ छ ।

छोटे महन्त दासले सर्वसाधारणलाई यस्ता नक्कली प्रोफाइलबाट आउने फ्रेन्ड रिक्वेस्ट स्वीकार नगर्न, ब्लक गर्न र रिपोर्ट गर्न आग्रह गरेका छन् ।

साथै उनले साइबर ब्यूरोलाई तत्काल नक्कली प्रोफाइल हटाउन र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

राप्रपामै हुन्छ रोचक घटना, कमल थापा लेख्नुपर्नेमा लेखियो ‘कमला थापा’

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा एकपछि अर्कोे रोचक घटना घटेको छ । पार्टीका नवनियुक्त मुख्यसचिव प्रा.डा. जयन्तनाथ खनालले एक पत्र लेख्दै ‘निवर्तमान अध्यक्ष कमला थापा’लाई बोधार्थ पठाएका छन् । जबकि, राप्रपामा कमला थापा नामको महिला निर्वतमान अध्यक्ष छैनन् ।

तर, हालै मनोनित मुख्यसचिव खनालले राप्रपा र राप्रपा नेपालको समायोजनको विषयमा राप्रपाका जिल्ला अध्यक्षहरूलाई यही जेठ ५ गते लेखेको पत्रमा ‘श्री कमला थापा ज्यू, निवर्तमान अध्यक्ष’ भनेर बोधार्थ दिएका छन् । यसमा ‘कमला थापा’ भन्ने नाममा मात्र होइन, ‘निवर्तमान अध्यक्ष’ भन्ने पदीय हैसियत समेत त्रुटिपूर्ण छ ।

यसलाई लिएर राप्रपाभित्र अनेक खाले टिकाटिप्पणी भइरहेको छ । खनालले मुख्यसचिवको हैसियतमा जारी गरेको यो पहिलो पत्र हो, जसमा नेताको नाम मात्र नभएर पद समेतमा हेलचेक्रयाइँ गरिएको छ ।

कतिपयले यसलाई अन्जानमा भएको गल्ती नभएर नियतवश चालिएको कदम भन्ने बुझाइ राखेका छन् ।

राप्रपा र राप्रपा नेपालसँग २०८२ पौष १६ गते एकीकरण भएको थियो । एकता भएको पाँच महिना बितिसक्दा पनि अध्यक्ष राजेन्द्र लिङ्देनले समायोजनालाई पूर्णता दिन र निर्वाचन आयोगलाई एकीकरणको जानकारी दिन कुनै चासो नदेखाएपछि कमल थापा स्वयमले हालै असन्तुष्टि व्यक्त गरेका थिए ।

पौष १६ गते राप्रपा नेपालबाट राप्रपामा एकीकृत भएका नेताहरूले चुनाव मात्र लडेनन्, राप्रपाका नीतिगत निर्णयहरूमा समेत सहभागी भइसकेका छन् ।

पार्टी अध्यक्ष लिङ्देनले चुनावका कारण समायोजनमा ढिलाइ भएको भनेर दिएको स्पष्टीकरण पार्टीपंक्तिले स्वीकारेको देखिँदैन । किनभने चुनाव सकिएको पनि तीन महिना नाघिसकिएको छ । लिङ्देनले रवीन्द्र मिश्र टीम र ४० वर्ष मुनिका केन्द्रीय सदस्यहरूको नामावली हालसम्म निर्वाचन आयोगमा अद्यावधिक गराएका छैनन् ।

‘लिङ्देनको खेल कमल थापा र राप्रपा नेपाललाई पेण्डुलम बनाउने र झुलाउने मात्र हो । यसै सिलसिलामा कमल थापालाई ‘कमला थापा’ भनेर सम्बोधन गरिनु, राप्रपा नेपालका अध्यक्षको रूपमा राप्रपामा जुटेका थापालाई ‘निवर्तमान अध्यक्ष’ भनेर हलुका सम्बोधन गरिनु, त्यही गलत मनसायको निरन्तरता हो । सम्मानजनक समायोजन भन्दा यसमा राप्रपा नेपाल टिमको मानमर्दन गर्ने बदनियतको गन्ध आउँछ,’ एक नेताले भने ।

यसबाहेक जिल्ला अध्यक्षहरूलाई लेखिएको पत्रको व्यहोरामा जिल्ला जिल्लामा सम्मानजक ‘दंग’ बाट समायोजन गरिने कुरा उल्लेख छ । ‘मुख्यसचिव खनालले कसले कसलाई, कसरी दंग बनाउने भन्ने कुरा चाहिँ खुलाएका छैनन्,’ एक नेताले रमाइलो टिप्पणी गरे ।

भारतमा फेरि बढ्यो पेट्रोल-डिजेलको मूल्य

काठमाडौं। भारतमा पेट्रोलियम पदार्थको मूल्य पुनः बढेको छ । नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर ८७ पैसा वृद्धि भई ९९ रुपैयाँ ५१ पैसा पुगेको छ भने डिजेल ९१ पैसा बढेर ९२ रुपैयाँ ४९ पैसा कायम भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पछिल्लो ९ दिनमा भारतमा इन्धनको मूल्य तेस्रो पटक बढाइएको हो । लगातारको मूल्यवृद्धिले त्यहाँको बजारसँगै नेपालमा पनि प्रत्यक्ष प्रभाव पर्ने संकेत देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्नु यस वृद्धिको प्रमुख कारण मानिएको छ । इरान-अमेरिका तनाव, पश्चिम एसियामा बढ्दो अस्थिरता तथा आपूर्ति प्रणालीमा देखिएको दबाबका कारण विश्व बजारमा तेलको भाउ उकालो लागेको विश्लेषण गरिएको छ ।

भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको नेपालमा पनि इन्धनको मूल्य पुनः समायोजन हुन सक्ने अनुमान गरिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट आउने नयाँ खरिद मूल्यका आधारमा नेपाल आयल निगमले प्रत्येक १५ दिनमा मूल्य पुनरावलोकन गर्दै आएको छ ।

अनावश्यक कल आएर हैरान हुनुहुन्छ ? ब्लक नै नगरी कसरी बच्ने ?

काठमाडौं। यो डिजिटल युगमा मोबाइल फोन हाम्रो दैनिक जीवनको अत्यावश्यक हिस्सा बनेको छ। मोबाइल फोन  सहयोगीका रुपमा उपयोगी पनि छ।  तर कहिलेकाहीँ एउटै नम्बरबाट बारम्बार फोन आउँदा हैरानी हुने अवस्था पनि सिर्जना हुन्छ ।

धेरै मानिस त्यस्तो नम्बर सिधै ब्लक गर्न चाहँदैनन्। किनकि ब्लक गरेको कुरा अर्को व्यक्तिलाई थाहा हुन सक्ने डर रहन्छ । यस्तै अवस्थामा ब्लक नगरी नै अनावश्यक कल नियन्त्रण गर्ने स्मार्ट विकल्पहरू उपलब्ध छन् ।

विशेषगरी मोबाइल फोनमा रहेको एउटा सेटिङमार्फत कुनै पनि नम्बरबाट आउने कललाई सिधै भ्वाइस मेलमा पठाउन सकिन्छ । यसले फोन नबज्ने बनाउँछ र कल गर्ने व्यक्तिलाई सन्देश छोड्ने विकल्प दिन्छ ।

ब्लक नगरी भ्वाइस मेलमा पठाउने विकल्प किन उपयोगी ?

सामान्यतया कुनै नम्बर ब्लक गर्दा कल गर्ने व्यक्तिले बिजी टोन सुन्न सक्छ वा कल अस्वीकार भएको संकेत पाउन सक्छ । यसले आफू ब्लक भएको थाहा हुने सम्भावना हुन्छ ।

तर भ्वाइस मेलमा पठाउने विकल्प प्रयोग गर्दा यस्तो संकेत देखिँदैन । फोन नबज्ने भएकाले कल गर्ने व्यक्तिलाई तपाईं फोन उठाउन नसक्ने अवस्थामा हुनुहुन्छ वा नेटवर्क बाहिर हुनुहुन्छ भन्ने लाग्न सक्छ । उसले आफ्नो सन्देश रेकर्ड गरेर छोड्न सक्छ। जुन पछि तपाईंले सुन्न सक्नुहुन्छ।

भ्वाइस मेल के हो ?

भ्वाइस मेल भनेको फोन नउठेको अवस्थामा कल गर्ने व्यक्तिले आफ्नो आवाजमा सन्देश रेकर्ड गरेर छोड्न सक्ने सुविधा हो । पछि प्रयोगकर्ताले आफू अनुकूल समयमा ती सन्देश सुन्न सक्छन् । यसले आवश्यक जानकारी सुरक्षित राख्छ र अनावश्यक प्रत्यक्ष सम्पर्कबाट बच्न मद्दत गर्छ ।

कसरी प्रयोग गर्ने ?

मोबाइलमा यो सुविधा प्रयोग गर्न सामान्यतया निम्न चरणहरू अपनाउनुहोस्:

१. फोनको सम्पर्क सूचीमा जानुहोस्

२. इच्छित नम्बर खोल्नुहोस्

३. माथिल्लो दायाँपट्टि रहेको मेनुमा ट्याप गर्नुहोस्

४. भ्वाइस मेलमा पठाउने विकल्प चयन गर्नुहोस्

५. पुष्टि गर्ने विकल्प थिच्नुहोस्

यो सेटिङ अन गरेपछि सो नम्बरबाट आउने कलहरू फोन नबजाई सिधै भ्वाइस मेलमा जान्छन् ।

आईफोन प्रयोगकर्ताका लागि विकल्प

आईफोन प्रयोगकर्ताका लागि भने प्रत्यक्ष रूपमा सबै मोडेलमा यो सुविधा उपलब्ध नहुन सक्छ । तर ‘अपरिचित कलहरू साइलेन्ट बनाउने’ जस्ता विकल्प प्रयोग गरेर अनजान नम्बरबाट आउने कलहरू नियन्त्रण गर्न सकिन्छ । 

 

घट्यो सुन-चाँदीको मूल्य

काठमाडौं। नेपाली बजारमा आइतबार सुन-चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेर दुई लाख ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला पाँच हजार एक सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक सय पाँच रुपैयाँले घटेर पाँच हजार १० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस चार हजार पाँच सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कान्समा ‘जुरी प्राइज’ जित्ने ‘इलेफेन्ट्स इन द फग’

काठमाडौं। नेपाली निर्देशक अभिनव विक्रम शाहको पहिलो फिचर फिल्म ‘इलेफेन्ट्स इन द फग’ ले विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यो उपलब्धिसँगै नेपाली सिनेमा पहिलो पटक उक्त प्रतिस्पर्धात्मक खण्डमा पुरस्कृत भएको छ ।

ग्रामीण नेपालको परिवेशमा आधारित यो फिल्म एक ट्रान्स महिला र उनको प्रेमकथामार्फत पहिचान, स्वीकृति, प्रेम, एक्लोपन र सामाजिक संरचनाको संवेदनशील चित्रण गर्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘द टाइम्स अफ इन्डिया’ले पनि फिल्मलाई गहिरो, शान्त र भावनात्मक रूपमा शक्तिशाली प्रस्तुति भन्दै उच्च प्रशंसा गरेको छ ।

समीक्षाहरूमा उल्लेख गरिएअनुसार फिल्म कुनै ठूलो हल्ला वा नाटकीय शैलीमा नभई अत्यन्तै संयमित र सूक्ष्म ढंगले कथा भन्छ । ग्रामीण नेपालको सामाजिक संरचना, परम्परा र सीमान्तकृत समुदायको जीवनलाई फिल्मले यथार्थपरक रूपमा चित्रण गरेको छ ।

फिल्मको केन्द्रमा रहेको ट्रान्स महिला पात्रको जीवन संघर्ष, प्रेम खोज्ने चाहना र समाजले दिने अस्वीकृतिको पीडालाई निर्देशक शाहले अत्यन्तै संवेदनशील ढंगले प्रस्तुत गरेका छन् । समीक्षकहरूले यसलाई ‘भावनात्मक रूपमा परिपक्व र कलात्मक रूपमा सन्तुलित डेब्यु’ भनेका छन् ।

निर्देशक अभिनव विक्रम शाहका अनुसार यो फिल्मलाई केवल एक व्यक्तिगत सफलता वा ऐतिहासिक क्षणका रूपमा मात्र हेर्नु हुँदैन । उनका भनाइमा, नेपालमा सधैँ शक्तिशाली र गहिरा कथाहरू थिए, तर ती कथाहरूले अन्तर्राष्ट्रिय पहुँच र दृश्यता पाउन सकेनन् ।

उनले भनेका छन्, ‘समस्या कथामा होइन, ती कथाले विश्वस्तरमा पुग्ने अवसर र दृश्यतामा थियो । यो छनोटलाई म विश्वलाई हामीलाई बेवास्ता नगर्न दिएको संकेतका रूपमा हेर्छु ।’

शाहले नेपाली फिल्मकर्मीहरूलाई आफ्नै मौलिक आवाजमा अडिग रहन आग्रह गर्दै स्थानीय कथालाई विश्वव्यापी बनाउन आत्मविश्वास आवश्यक रहेको बताए ।

शाहका लागि कान्स नयाँ अनुभव होइन । यसअघि उनको छोटो फिल्म ‘लोरी’ ले कान्सको ७५औँ संस्करणमा ‘स्पेसल मेन्सन’ प्राप्त गरेको थियो, जुन उपलब्धि प्राप्त गर्ने पहिलो नेपाली छोटो फिल्म बनेको थियो ।

त्यसपछि उनले फिचर फिल्ममार्फत पुनः कान्स फर्किने लक्ष्य राखेका थिए.  जसको परिणामस्वरूप ‘इलेफेन्ट्स इन द फग’ बनेको हो ।

फिल्म नेपालको एक सानो गाउँमा आधारित छ, जहाँ जंगलमा जंगली हात्तीहरूको निरन्तर उपस्थिति छ । यो प्राकृतिक वातावरणभित्र फिल्मले ‘किनर’ समुदायकी अगुवा पीरतीको कथा प्रस्तुत गर्छ ।

पीरती आफ्नो जीवनमा सामान्य प्रेम र पारिवारिक सुखको सपना देख्छिन्, तर उनको छोरी हराएपछि उनको जीवन यात्राले नयाँ मोड लिन्छ । व्यक्तिगत चाहना र सामुदायिक जिम्मेवारीबीचको द्वन्द्व फिल्मको मुख्य भाव बनेको छ ।

फिल्मले केवल व्यक्तिगत कथा मात्र नभई सामाजिक र वातावरणीय संघर्षलाई पनि समानान्तर रूपमा प्रस्तुत गरेको छ । निर्देशक शाहका अनुसार जात, लैङ्गिकता र प्रकृतिमाथिको नियन्त्रणबीच गहिरो सम्बन्ध छ, जहाँ सबै संघर्षको जरा ‘अरू’ माथि नियन्त्रण गर्ने मानसिकतासँग जोडिएको छ ।

फिल्ममा पुष्पा थिङ लामा, दिपीका यादव, जस्मिन विश्वकर्मा र एलिजा घिमिरेलगायत कलाकारहरूको अभिनय रहेको छ ।

कलाकार छनोट प्रक्रिया झण्डै दुई वर्ष लामो रहेको थियो । निर्माण टोलीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरू र नयाँ अनुहार खोज्दै देशभर यात्रा गरेको थियो ।

यो फिल्म नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका अन्तर्राष्ट्रिय सहनिर्माणमा तयार भएको हो । नेपालीतर्फ अनुप पौडेल र प्रचण्ड मान श्रेष्ठ निर्माता रहेका छन् ।

‘इलेफेन्ट्स इन द फग’ को यो सफलता नेपाली चलचित्र उद्योगका लागि ऐतिहासिक मानिएको छ । पहिलो पटक कान्सको प्रतिस्पर्धात्मक खण्डमा पुरस्कार जित्नुले नेपाली कथावाचनलाई विश्वले गम्भीर रूपमा लिन थालेको संकेत दिएको फिल्म क्षेत्रका जानकारहरूको भनाइ छ ।

यस उपलब्धिले भविष्यमा नेपाली फिल्मकर्मीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ मजबुत उपस्थितिका लागि प्रेरणा दिने अपेक्षा गरिएको छ ।

पोखरामा फिर्के खोला अतिक्रमण हटाउन महानगरको अपरेसन सुरु, मेयर धनराज आचार्य आफैं फिल्डमा(तस्वीरहरु)

कास्की। पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमण हटाउने अभियान सुरु गरेको छ । महानगरले खोलाको सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन डोजर परिचालन गरेको हो ।

अभियानको नेतृत्व मेयर धनराज आचार्य ले आफैं गरेका छन् । उनी बिहानैदेखि फिल्डमा पुगेर अनुगमन तथा निर्देशनमा सक्रिय देखिएका छन् ।

महानगरका अनुसार फिर्के खोलाको बहाव क्षेत्र अतिक्रमण हुँदा बाढी, डुबान र वातावरणीय समस्या बढ्दै गएको थियो । त्यसैले सार्वजनिक सूचना जारी गरी अतिक्रमित संरचना हटाउन सुरु गरिएको जनाएको छ ।

स्थानीय प्रशासन र सुरक्षाकर्मीको उपस्थितिमा सञ्चालन गरिएको अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने महानगरले जनाएको छ ।

 

बेलायती मन्त्री मल्होत्राले गरिन् पशुपतिनाथको दर्शन [तस्वीरहरू]

काठमाडौं। नेपालको भ्रमणमा रहेकी बेलायती मन्त्री सीमा मल्होत्राले पशुपतिनाथको दर्शन गरेकी छन् ।

नेपालको तीन दिने भ्रमणमा रहेकी मल्होत्राले नेपालका शिक्षा मन्त्री, अर्थमन्त्री र परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट गर्नुका साथै लुम्बिनीको भ्रमण समेत गरेकी थिइन् ।

युवापुस्तामा किन बढ्दै छ ‘माइग्रेन’ र ‘नसा च्यापिने’ समस्या ?

काठमाडौं। युवापुस्तामा माइग्रेन र नसा च्यापिने समस्या तीव्र रूपमा बढ्दै गएको छ । पहिले उमेर ढल्केपछि मात्रै देखिने यी समस्या अहिले किशोरावस्थादेखि नै देखिन थालेका छन् । 

विशेषगरी अनियन्त्रित ‘स्क्रिन टाइम’, लामो समयसम्म गलत आसनमा बस्ने बानी, पर्याप्त निद्राको अभाव, बढ्दो मानसिक तनाव र अस्वस्थ जीवनशैलीका कारण स्नायु प्रणालीसम्बन्धी समस्या युवामाझ सामान्य बन्दै गएका छन् ।

विशेषज्ञहरूका अनुसार माइग्रेनका बिरामीमध्ये ठूलो हिस्सा २० देखि ५० वर्ष उमेर समूहका नौजवान कामकाजी  युवा हुन् । त्यसमा पनि महिलामा यसको जोखिम अझ बढी देखिएको छ भने अर्कोतर्फ, नसा च्यापिने समस्या अहिले १६–१७ वर्षकै किशोरकिशोरीमा समेत देखिन थालेको चिकित्सकहरू बताउँछन् ।

माइग्रेन भनेको सामान्य टाउको दुखाइ मात्र नभई स्नायु प्रणालीसँग जोडिएको जटिल समस्या हो। माइग्रेन हुँदा टाउकोको एक भागमा अत्यधिक पीडा हुने,नसा फुलेजस्तो भकभक गर्ने,उज्यालो सहन नसक्ने,आँखामा असर पर्ने, वाकवाकी लाग्ने तथा थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् । कतिपय बिरामीलाई टाउको दुख्नुअघि नै हाई आउने,आँखा रसाउने वा शरीर गलेको महसुस हुने संकेत देखिने चिकित्सक बताउँछन् ।

माइग्रेन बढ्नुका प्रमुख कारणमा वंशाणुगत प्रभावसँगै अनियमित कम निद्रा, तनाव, अत्यधिक ‘स्क्रिन टाइम’, घाम, मौसम परिवर्तन, लामो यात्रा तथा खानपानको अव्यवस्था पर्छन् । विशेषगरी मोबाइल, कम्प्युटर र अन्य डिजिटल उपकरणको अत्यधिक प्रयोगले युवामा निद्रा बिग्रने, मानसिक तनाव बढ्ने र माइग्रेनको जोखिम थपिने गरेको छ ।

त्यस्तै नसा च्यापिने समस्या पनि अहिले युवामाझ तीव्र रूपमा फैलिरहेको चिकित्सकहरूको भनाइ छ । लामो समयसम्म निहुरिएर मोबाइल चलाउने, अफिसमा गलत आसनमा बस्ने, लगातार बाइक चलाउने, धेरै समय उभिने वा झुकेर काम गर्ने बानीले मेरुदण्डमा असर पुग्दा नसामा दबाब पर्न जाने र समस्या सुरु हुने गर्छ ।

मेरुदण्डको हड्डीबीच रहेको डिस्कले शरीरलाई सन्तुलनमा राख्ने काम गर्छ । तर लगातार गलत पोस्चरमा बस्दा वा अत्यधिक दबाब पर्दा उक्त डिस्कले नसालाई छोएर ढाड दुख्ने, हातखुट्टा झमझम गर्ने, गर्दन तथा कम्मर दुख्ने समस्या निम्त्याउने चिकित्सकहरू बताउँछन् ।

अहिले विद्यार्थी, कार्यालयमा लामो समय बस्ने कर्मचारी,चालक, खेलाडी, खेतबारीमा काम गर्ने किसान तथा भारी बोक्ने श्रमिकमा नसा च्यापिने समस्या बढी देखिएको छ । समस्या जटिल बन्दै गएमा हातखुट्टा नचल्ने, शरीर लाटो हुने, दिसापिसाब नियन्त्रणमा समस्या आउने वा पक्षघातसम्म हुन सक्ने जोखिम पनि रहन्छ ।

विशेषज्ञहरूले स्नायु प्रणालीलाई स्वस्थ राख्न दैनिक जीवनशैलीमा सुधार आवश्यक रहेको बताएका छन् । पर्याप्त निद्रा, सन्तुलित खानपान, नियमित व्यायाम, तनाव व्यवस्थापन, तौल नियन्त्रण र सही आसनमा बस्ने बानीले यस्ता समस्या धेरै हदसम्म रोक्न सकिने उनीहरूको सुझाव छ ।

बालबालिकामा पनि बढ्दो ‘स्क्रिन टाइम’ले स्नायु प्रणालीमा असर गरिरहेको चिकित्सकहरू बताउँछन् । विशेषगरी कम उमेरमै मोबाइल र ट्याबलेटको अत्यधिक प्रयोगले निद्रा, मानसिक स्वास्थ्य तथा मस्तिष्क विकासमा नकारात्मक प्रभाव पार्ने भएकाले बालबालिकालाई सीमित मात्रामा मात्रै डिजिटल उपकरण प्रयोग गर्न दिनुपर्ने सुझाव दिइएको छ ।

त्यस्तै वृद्धवृद्धामा देखिने डिमेन्सिया र अल्जाइमरजस्ता समस्या पनि पछिल्लो समय बढ्दै गएका छन् । पर्याप्त मानसिक सक्रियता नहुनु, निद्राको कमी, दीर्घरोग, अस्वस्थ खानपान तथा सामाजिक गतिविधिमा कमी हुनु यस्ता रोगका जोखिम कारक मानिन्छन् । चिकित्सकहरूका अनुसार यस्ता बिरामीलाई परिवारको विशेष स्याहार, नियमित औषधि, उचित खानपान र मानसिक सहयोग अत्यन्त आवश्यक हुन्छ ।

विशेषज्ञहरूका अनुसार अहिलेको प्रतिस्पर्धात्मक र तनावपूर्ण जीवनशैलीले स्नायु प्रणालीसम्बन्धी रोगको जोखिम बढाइरहेको छ । त्यसैले समयमै सावधानी अपनाउन सके माइग्रेन, नसा च्यापिने, स्ट्रोक तथा अन्य स्नायु रोगबाट बच्न सकिने चिकित्सकहरूको भनाइ छ । 

पार्टी संकटमा रहँदा ओलीको पक्षमा उभिए बादल, भट्ट र बस्नेत[भिडियाे]

काठमाडौं। एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपमहासचिव लेखराज भट्ट र सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्न नहुने बताएका छन् ।

पार्टी र कम्युनिस्ट आन्दोलन संकटमा परेको बेला अध्यक्ष ओलीको राजीनामा माग्नु गलत हुने उनीहरूको भनाइ छ । शुक्रबारको सचिवालय बैठकमा उपाध्यक्ष बादलले प्रष्ट रूपमा भनेका थिए, ‘पार्टी संकटमा पर्दा राजीनामा होइन, नेतृत्वको संरक्षण गर्ने हो ।’

यसअघि ओली पक्राउ पर्दा पनि बादलले कार्यवाहक अध्यक्षको भएर एमाले हाँकेका थिए । उनले हरेक मोर्चामा अध्यक्ष ओलीको नेतृत्व आवश्यक रहेको र उनकै नेतृत्वमा देशले समृद्ध र सखुी नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्ने दाबी गर्दै आएका छन् ।

उपमहासचिव लेखराज भट्टले पनि पार्टी संकटमा परेको बेला नेतृत्वबाट ओलीको विकल्प खोज्नु बुद्धिमानी नहुने बताएका छन् । उनले नेतृत्वको रक्षा नै आजको एमालेको आवश्यकता भएको बताए ।

तर, यदि, नेतृत्व हस्तान्तरण र पुस्तान्तरण खोजेको हो भने ओलीले मात्रै नभएर ६० वर्ष माथिका सबै एमाले नेताले राजीनामा दिनुपर्ने बताए ।

एमाले सचिव महेश बस्नेतले पनि ओलीको राजीनामा माग्नु अहिले सान्दर्भिक नहुने बताएका छन् । पार्टीका केही सचिवालय सदस्यले राजीनामा मागेपछि बादल, भट्ट र बस्नेत ओलीको पक्षमा उभिएका हुन् ।

एमसीसी परियोजनामा भ्रष्टाचार भएको महालेखाको आशंका

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसिए अन्तर्गत ४०० केभी सबस्टेशन निर्माण ठेक्कामा अनियमितता भएको भन्दै महालेखा परीक्षक कार्यालयले प्रश्न उठाएको छ ।

महालेखाले लागत अनुमानभन्दा करिब १० प्रतिशत बढी रकम प्रस्ताव गर्ने कम्पनीलाई किन ठेक्का दिइयो भनेर स्पष्टीकरण मागेको हो ।

वार्षिक प्रतिवेदनको बुँदा नम्बर १५८ मा सार्वजनिक खरिद ऐन, २०६३ अनुसार लागतभन्दा बढीको बोलपत्र आएमा खरिद प्रक्रिया रद्द गर्न सकिने व्यवस्था उल्लेख गरिएको छ ।

लट–३ अन्तर्गत न्यु दमौली ४०० केभी सबस्टेशन निर्माणका लागि ३ करोड ५४ लाख २० हजार अमेरिकी डलर लागत अनुमान गरिएको थियो । तर, ९.८१ प्रतिशत बढी अर्थात् ३४ लाख ७६ हजार अमेरिकी डलर बढी कबोल गर्ने कम्पनीको प्रस्ताव स्वीकृत गरिएको छ ।

यो रकम नेपाली रुपैयाँमा करिब ४६ करोड १५ लाख बढी हुन आउँछ ।

महालेखाले गत वर्ष यस्तै प्रकृतिको अर्को ठेक्का महँगो प्रस्तावकै कारण रद्द गरिएको उदाहरण पनि दिएको छ ।

एउटै प्रकृतिको खरिदमा फरक निर्णय भएपछि दोहोरो मापदण्ड र आर्थिक चलखेलको आशंका बढेको छ ।

सम्बन्धित निकायले भने हालसम्म यसबारे स्पष्ट जवाफ दिएको छैन ।

ओलीले भने- म नेतृत्व छाड्दिनँ[भिडियाे]

काठमाडौं। नेकपा एमालेको जारी सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट कुनै पनि हालतमा नहट्ने स्पष्ट अडान लिएका छन् ।

कतिपय सचिवालय सदस्यले ओलीलाई सम्झाउँदै पार्टी संकटमा परेको र पुनर्गठनका लागि नेतृत्वबाट ससम्मान बिदा लिन सुझाएपछि ओलीले यस्तो बताएका हुन् ।

ओलीको भनाइ उदृत गर्दै एक नेताले भनेका छन्, ‘मलाई किन सम्झाउँदै हुनुहुन्छ, नसम्झाउनुहोस् । तपाईंहरूले सम्झाउनु पर्दैन । म नेतृत्व छाड्दिनँ ।’

ओली अहिले लागतार तेस्रोपटक अध्यक्षका रुपमा पार्टी नेतृत्व गरिरहेका छन् । उनी मनोनीत अध्यक्ष होइनन् । हरेकपटक निर्वाचित भएर अध्यक्ष भएका हुन् ।

त्यही भएर आफ्नो राजीनामा माग्ने केही सचिवालय सदस्यहरूलाई उनले भनेका छन्, ‘म बकाइदा निर्वाचित भएर अध्यक्ष भएको हुँ । तपाईंहरू राजीनामा दिनु भन्दैमा मैले दिन्नँ ।’

झापा विद्रोहको बेला विद्यार्थी मोर्चामा आबद्ध हुँदै कम्युनिस्ट राजनीतिमा आएका ओली एमालेको तीनपटक अध्यक्ष हुँदा चारपटक प्रधानमन्त्री भएका छन् । उनकै सरकारको पालामा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको चुच्चे नक्सा सार्वजनिक भएको थियो ।

संविधान जारी भएपछि उनकै सरकारले २०७२ पछि भारतले गरेको अघोषित नाकाबन्दीको कडा प्रतिवाद गरेको थियो । यसपछि ओलीको छवि राष्ट्रवादी नेताको बनेको थियो ।

 

ह्वाइट हाउस बाहिर गोलीकाण्ड : बन्दुकधारी मारिए

एजेन्सी। अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली प्रहार गर्ने एक संदिग्ध बन्दुकधारी मारिएका छन् । घटनामा एक सर्वसाधारण पनि घाइते भएका छन् ।

अमेरिकी गुप्तचर निकायका सुरक्षाकर्मीका अनुसार शनिबार साँझ ६ बजापछि १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिक एक व्यक्तिले झोलाबाट बन्दुक निकालेर गोली चलाउन सुरु गरेका हुन्।

ह्वाइट हाउस सुरक्षामा खटिएका एजेन्टहरूले तत्काल जवाफी फायर गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका संदिग्धलाई अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

घटनाका क्रममा एक सर्वसाधारणलाई पनि गोली लागेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् । यद्यपि, सुरक्षाकर्मी भने सुरक्षित रहेका छन् ।

घटनाका बेला अमेरिकी राष्ट्रपति ह्वाइट हाउसमै उपस्थित भए पनि उनी पूर्ण रूपमा सुरक्षित रहेको र सुरक्षा व्यवस्थामा कुनै असर नपरेको अमेरिकी ‘सेक्रेट सर्भिस’ले जनाएको छ ।

गोली चलेपछि ह्वाइट हाउस क्षेत्रमा केही समय तनाव फैलिएको थियो । अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजकी पत्रकार सेलिना वाङले गोलीको आवाज सुनेपछि सुरक्षाका लागि झुकेको भिडियो सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफूलाई तत्काल ‘प्रेस ब्रिफिङ हल’तर्फ जान निर्देशन दिइएको उल्लेख गरेकी छन् ।

अमेरिकी ‘सेक्रेट सर्भिस’ले घटनाबारे अनुसन्धान भइरहेको र थप विवरण पछि सार्वजनिक गरिने जनाएको छ।

पक्राउ पुर्जी जारी भएपछी वडाध्यक्ष बेपत्ता

सप्तरी। कुटपिट तथा अंगभंगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि सप्तरीको राजगढ गाउँपालिका-२ का वडाध्यक्ष जितेन्द्रकुमार यादव सम्पर्कविहीन भएका छन् ।

प्रहरीले वडाध्यक्ष यादवसहित पाँच जनाविरुद्ध गत सोमबार पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरी कारबाही अघि बढेपछि यादवले वडा सदस्य सुमित्रादेवी खंगलाई निमित्त जिम्मेवारी दिएर सम्पर्कविहीन भएको बताइएको छ ।

वडा सचिव रामकुमार यादवले चार दिनअघि वडाध्यक्ष यादवले कार्यवाहक जिम्मेवारी हस्तान्तरण गरेको पुष्टि गरेका छन् ।

राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले केही दिनअघि मात्र वडाध्यक्षसँग भेट भएको तर त्यसपछि सम्पर्क नभएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बरबहादुर पुरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

घटना गत कात्तिक २१ गते राजगढ गाउँपालिका-२ को बनैनियाँ क्षेत्रमा भएको थियो । सार्वजनिक जग्गामा घर निर्माण गर्न खोज्दा स्थानीय ललनकुमार सिंहलगायतले विरोध जनाएपछि विवाद चर्किएको बताइएको छ ।

आरोपअनुसार वडाध्यक्ष यादवसहित शिवन खंग, टुनु खंग, पशुपति खंग र श्रीराम खंगले सिंहमाथि रड प्रहार गरेका थिए । उक्त घटनामा सिंहको हात भाँचिएको बताइएको छ ।

पीडित सिंहले कात्तिक २५ गते नै प्रहरीमा जाहेरी दिन खोजे पनि दर्ता नगरिएको आरोप लगाएका छन् । पछि उनले जिल्ला सरकारी वकिल कार्यालयमार्फत पुनः जाहेरी दिए पनि प्रक्रिया अघि नबढाइएको जनाइएको छ ।

त्यसपछि सिंहले उच्च अदालत जनकपुरको राजविराज इजलासमा परमादेश माग गर्दै रिट दायर गरेका थिए । न्यायाधीश पूर्णप्रसाद राजवंशी र कृष्णप्रसाद सुवेदीको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयका नाममा परमादेश जारी गरेपछि घटनामा कानुनी प्रक्रिया अघि बढेको हो ।

पार्किङ निषेधको विरोधमा तनहुँका व्यवसायीहरू पसल बन्द गरेर आन्दोलनमा [तस्वीरहरू]

काठमाडौं। दमौलीस्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ निषेधको निर्णयविरुद्ध स्थानीय व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।

व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी साधन पार्किङ गर्न रोक लगाएपछि व्यवसायीहरूले पसल बन्द गरेर विरोध जनाएका हुन् ।

नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन सफा सडकमा पार्किङ निषेधको निर्णय लागू गरिएको जनाएको छ । साथै, केही क्षेत्रमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था पनि लागू गरिएको छ ।

तर व्यवसायीहरूले पार्किङ निषेधका कारण व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन् ।

तस्वीरहरू:

तेस्रो पुस्ताको स्टारशिपको सफल परीक्षण

काठमाडौं। स्पेस-एक्सको तेस्रो पुस्ताको विशालकाय स्टारशिप अन्तरिक्षयानले शुक्रबार ऐतिहासिक परीक्षण उडान सम्पन्न गर्दै भारतीय महासागरमा नियन्त्रित रूपमै स्प्ल्यासडाउन गर्‍यो।  प्रक्षेपण यात्रा पूर्ण रूपमा समस्या रहित नभए पनि समग्रमा सफल मानिएको छ। जसले कम्पनीलाई आगामी महत्वाकांक्षी लक्ष्यहरूतर्फ एक कदम नजिक पुर्‍याएको छ। यो उडान एलन मस्कद्वारा संचालित कम्पनीले सम्भावित रेकर्ड हुने प्रारम्भिक सार्वजनिक प्रस्ताव अघि गरेको महत्वपूर्ण माइलस्टोन थियो।

विभिन्न किसिमका नयाँ प्रविधिहरू प्रयोग गरेर स्थानीय समय अनुसार साँझ ५:३० बजे स्टारशिपको परीक्षण गरिएको थियो । बुस्टर र माथिल्लो चरण फर्काउने योजना नभएकाले कम्पनीले स्प्ल्यासडाउनलाई अन्तिम लक्ष्यको रूपमा राखेको थियो। स्टारशिप समुद्रमुनि अवतरण गरेका आगोका लप्कासहित भए पनि पूर्ण रूपमा नियन्त्रणमा थियो

एक इन्जिनले काम नगरे पनि तेस्रो पुस्ताको स्टारशिपले उडानकै क्रममा दिशा उल्टाएर सीधा हुनुपर्ने महत्वपूर्ण ‘फ्लिप’ मुभ पूरा गरेर इन्जिनहरू पुनःप्रज्वलन गर्‍यो। यसले २२ वटा नक्कली उपग्रहहरू कक्षामा पठायो, जसमा दुईले अन्तरिक्षयानको हीट शिल्डको तस्वीर लिन प्रयास गरे।

तर प्रारम्भिक बर्नकै क्रममा एउटा इन्जिन बिग्रिएको कारण स्टारशिप तोकिएको कक्षामा शतप्रतिशत सही रूपमा पुगेन।

स्टारशिपको सफल प्रक्षेपण गरेपछि स्पेस(एक्सका प्रवक्ता ड्यान ह्यूट ले भने, ‘यसलाई नाममात्रको कक्षीय प्रवेश भन्न मिल्दैन, तर यो पहिल्यै विश्लेषण गरिएको मार्गभन्दा बाहिर गएको छैन।’

सुपर हेभी बुस्टर माथिल्लो चरणबाट निर्धारित समयमा छुट्टिए पनि त्यसले आफ्नो ‘बुष्ट ब्याक बर्न’ पूरा गर्न सकेन। बुस्टर मेक्सिको उपसागरमा अनियन्त्रित रूपमा खस्यो। यद्यपि स्पेस-एक्सले यसलाई फिर्ता ल्याउने योजना नगरेको भए पनि कम्पनीले अपेक्षा गरेको जस्तो शुद्ध अवतरण भने सम्भव नभएको बताइएको छ ।

‘अद्भूत उडान! तपाईंले मानवताको लागि गोल गर्नुभयो,’ स्टारशिपको सफल परिक्षण पछि एलन मस्कले एक्समा लेखेका छन्।

यसअघि बिहीबार गरिएको परीक्षण अन्तिम समयमै रोकिएको थियो। स्तारशिपको काउन्टडाउन बारम्बार रोकिँदा समस्या समाधान गर्न नसकिने भएपछि उडान स्थगित गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यसक्रममा मस्कले लेखेका थिए,‘टावर आर्मलाई समाइराख्ने हाइड्रोलिक पिन नफर्किएको रहेछ।’ तर कम्पनीले त्यो समस्या रातारात समाधान गर्यो ।

स्पेस-एक्सले यही सातामा अमेरिकी वित्तीय नियामकमा सार्वजनिक रूपले शेयर विक्रीको आवेदन दिएको छ, जुन सम्भवतः जुन महिना भरीको रेकर्ड आइपिओ बन्न सक्ने अनुमान छ। यस्तो संवेदनशील समयमा परीक्षण उडानमा सफलता कम्पनीका लागि थप महत्त्वपूर्ण उपलब्धि बनेको छ।

स्टारशिपको यो १२औँ परीक्षण तथा सात महिनापछिको पहिलो उडान हो। नयाँ डिजाइन पहिलेभन्दा ४०७ फिटले ठुलो भएको बताइएको छ । स्पेस(एक्सले चन्द्र अवतरण प्रणाली विकास गर्न ठेक्का पाएको छ, जसअनुसार ‘आर्टिमिस ’ कार्यक्रममार्फत मानवलाई पुनः चन्द्रमामा उतार्ने लक्ष्य राखिएको छ।

तेस्रो पुस्ताको स्टारशिपको सफल परिक्षणपछि एरोस्पेस विश्लेषक क्लेटन स्वोप भन्छन्, ‘अपग्रेड गरिएको स्टारशिपले स्पेस-एक्स ले आशा गरेको अधिकांश लक्ष्य पूरा गर्‍यो, तर अन्तिम परीक्षणपछि लामो समय बितिसकेको छ।’

नासाले २०२७ सम्ममा चन्द्रमाको कक्षमा अन्तरिक्षयान र चन्द्र अवतरण यानबीचको ‘भेटघाट’ परीक्षण गर्ने लक्ष्य राखेको छ। यसका लागि स्पेसएक्स र ब्लु ओरिजन प्रतिस्पर्धामा छन्। यसै सम्बन्धमा सोपले लेखेको छ, ‘अर्को आर्टिमिस मिशन अघि स्टारशिपलाई अझ धेरै परीक्षण उडानहरू आवश्यक छन्। यात्रा अझै धेरै बाँकी छ।’

स्टारशिपको उडान अघि र पछि नासाका अधिकारी जारेड आइज्याकम्यान लाइभ कार्यक्रममा देखिएका थिए । उनले स्टारशिपको परीक्षणपछि उनले एक्समा लेखेका छन्, ‘भी(३ स्टारशिपको अविश्वसनीय उडानमा बधाई। हामी चन्द्रमा नजिक हुँदैछौं‘ मङ्गल ग्रहतर्फ एक कदम अघि बढ्दै।’

पछिल्लो समय विश्व अन्तरिक्ष प्रतिस्पर्धा तीव्र बनिरहेको छ। चीन, रुस लगायतका शक्ति राष्ट्रहरुले मानवीय चन्द्रमिशन गर्ने लक्ष्यमा काम गरिरहेका प्रतिष्पर्धा तिव्र बन्दै गइरहेको हो ।

(स्पेस-एक्सको सहयोगमा तयार पारिएको)

आन्तरिक विवाद सतहमा : रास्वपा सांसदहरु लखेटिएका हैनन् ?

काठमाडौं। बाराको कलैयामा शनिबार आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला स्तरीय बैठकमा सांसदहरु लखेटिएको विषयलाई लिएर सामाजिक सञ्जाल र केही मिडियामा विभिन्न दाबी सार्वजनिक भए। कार्यक्रममा सहभागी केही सांसद तथा नेताहरूलाई कार्यकर्ताले ‘लखेटे’पछि घटना राजनीतिक बहसको विषय बनेको हो।

तर रास्वपाका नेता तथा प्रतिनिधि सभा सदस्य रहबर अन्सारीले उक्त दाबीलाई पूर्ण रूपमा असत्य र अतिरञ्जित भएको बताएका छन्।

अन्सारीका अनुसार बारामा आयोजित कार्यक्रम रास्वपाको नियमित संगठन विस्तार तथा जिल्ला अधिवेशनको तयारीसँग सम्बन्धित थियो। पार्टीको केन्द्रीय समितिले देशभर जिल्ला अधिवेशनको तयारी अघि बढाउने निर्णय गरेपछि सुझाव सङ्कलन तथा कार्यकर्ता भेटघाटका लागि केन्द्रीय टोली विभिन्न जिल्लामा पुगिरहेको थियो। सोही अभियानअन्तर्गत नेताहरूको टोली बारा पुगेको उनले बताएका छन्।

कार्यक्रम किन विवादमा तानियो ?

रास्वपाको बारा जिल्ला कमिटीभित्र केही समययता आन्तरिक असन्तुष्टि देखिँदै आएको थियो। विशेषगरी जिल्ला पूर्वसंयोजक चन्दन स्वर्णकारमाथि गरिएको कारबाहीपछि केही कार्यकर्ता असन्तुष्ट बनेका थिए। पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा गत वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकारको साधारण सदस्यता समेत खारेज गर्ने निर्णय गरेको थियो।

पार्टी स्रोतका अनुसार स्वर्णकारमाथि संगठनात्मक अनुशासन उल्लंघन गरेको आरोप लागेको थियो। यद्यपि स्वर्णकार पक्षधर कार्यकर्ताले भने उक्त निर्णयलाई अन्यायपूर्ण भन्दै विरोध गर्दै आएका छन्। शनिबारको कार्यक्रममा पनि यही विषयलाई लिएर केही कार्यकर्ताले प्रश्न उठाएका थिए।

कार्यक्रममा सहभागी सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंह माथि केही असन्तुष्ट कार्यकर्ताले आक्रोश व्यक्त गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार कार्यक्रममा केहीबेर चर्काचर्की र नाराबाजीसमेत भएको थियो। तर अवस्था नियन्त्रणबाहिर भने गएको थिएन।

‘लखेटिएको’ दृश्य कसरी फैलियो ?

कार्यक्रमपछि सामाजिक सञ्जालमा केही भिडियो क्लिपहरू तीव्र रूपमा भाइरल भए। भिडियोमा केही नेताहरू हतार–हतार हिँडिरहेको तथा प्रहरी सुरक्षामा अर्को स्थानतर्फ गइरहेको देखिन्थ्यो। यही दृश्यलाई आधार बनाएर केही मिडियाले ‘रास्वपाका सांसदहरूलाई कार्यकर्ताले लखेटे’ भन्ने शीर्षकसहित समाचार प्रकाशित गरे।

तर सांसद अन्सारीले भने ती दृश्यलाई गलत अर्थ लगाइएको बताएका छन्। उनका अनुसार कार्यक्रमस्थलमा अनावश्यक तनाव नहोस् भनेर प्रहरीले सुरक्षात्मक रूपमा अतिथिहरूलाई नजिकैको कोठामा लगेको थियो। उनले आफूहरू भागेको वा लखेटिएको भन्ने दाबीलाई राजनीतिक प्रचारबाजीको संज्ञा दिएका छन्।

उनले भने, ‘सामान्य विवादलाई केही मिडियाले बढाइचढाइ गरेर प्रस्तुत गरे। हामीलाई सुरक्षित रूपमा अर्को ठाउँमा लगिएको दृश्यलाई ‘लखेटियो’ भनेर प्रचार गरिएको हो। वास्तविकता त्यस्तो होइन।’

रास्वपाको आन्तरिक विवाद सतहमा

पछिल्लो समय रास्वपाभित्र विभिन्न जिल्लामा संगठनात्मक विवाद देखिन थालेका छन्। नयाँ राजनीतिक शक्ति रूपमा उदाएको पार्टीमा नेतृत्व चयन, अनुशासन कारबाही, संगठन विस्तार र स्थानीय तहका निर्णयलाई लिएर बेला-बेलामा असन्तुष्टि सतहमा आउने गरेको छ।

विश्लेषकहरूका अनुसार छोटो समयमा तीव्र रूपमा विस्तार भएको पार्टी भएकाले संगठन व्यवस्थापन र आन्तरिक समन्वय चुनौतीपूर्ण बन्नु स्वाभाविक हो । विशेषगरी जिल्ला र प्रदेश तहमा नेतृत्वबीचको प्रतिस्पर्धा तथा केन्द्रीय निर्णयप्रति असन्तुष्टि बढ्दा यस्ता विवाद सार्वजनिक भइरहेका छन्।

रास्वपाले भने पार्टीभित्र देखिएका विवादलाई संवादमार्फत समाधान गर्ने बताउँदै आएको छ। पार्टी नेताहरूले आन्तरिक लोकतन्त्र बलियो बनाउन छलफल र आलोचनालाई सकारात्मक रूपमा लिने दाबी गर्दै आएका छन्।

यद्यपि सहभागी नेताहरूले अवस्था सामान्य रहेको र कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। ‘लखेटिएको’ भन्ने दाबीलाई नेताहरूले अस्वीकार गरे पनि घटना भने राजनीतिक रूपमा चर्चित बनेको छ।

यस घटनाले नयाँ दलभित्र संगठन व्यवस्थापन, अनुशासन कायम गर्ने चुनौतीलाई पुनः बहसमा ल्याएको देखिन्छ।

के सुर्यले ‘डूम्स डे’ लाई जलाउन सक्छ?

यदि ‘डूम्स डे’ लाई सुपरम्यानले सूर्यभित्र फाल्न सफल भयो भने त्यसको परिणाम कुन संस्करणको ‘डूम्स डे’ हो र उसका शक्तिहरूले कसरी प्रतिक्रिया गर्छन् भन्ने कुरामा निर्भर हुन्छ। 

सूर्यले लगभग सबै चीज नष्ट गर्न सक्छ, त्यसैले सामान्य रूपमा सोच्दा यसले ‘डूम्स डे’ लाई पनि समाप्त गर्नुपर्छ। तर डिसी कमिकको संसारमा कुनै पनि कुरा कहिल्यै यति सजिलो हुँदैन। ‘डूम्स डे’ कमिक इतिहासकै सबैभन्दा डर लाग्दा प्राणीहरूमध्ये एक हो, किनभने ऊ मृत्यु आफैंलाई जित्न बनाइएको थियो। 

‘डूम्स डे’ जब-जब मर्छ, उसले आफूलाई त्यही कारणबाट फेरि कहिल्यै नमर्ने गरी विकसित गर्छ। यही एक क्षमताले यसलाई सूर्यमा फाल्ने योजनालाई अत्यन्त जटिल बनाउँछ।

यसमा पहिलो सम्भावना के रहन्छ भने, ‘डूम्स डे’ ले एड्याप्टिभ शक्ति प्रयोग गर्न पाउने मौका नै नपाई सूर्यले यसलाई पूर्ण रूपमा वाष्पीकरण गरिदिन्छ । सूर्यको केन्द्रभाग करिब १५ मिलियन डिग्री सेल्सियस तापक्रममा हुन्छ र त्यहाँको दबाब यति शक्तिशाली हुन्छ कि परमाणुहरू लगातार फ्युजन भइरहेका हुन्छन् । सुपरम्यान आफैं पनि सामान्यतया सूर्यको बाहिरी तह नजिक मात्र रहन्छ, केन्द्रमा सजिलै पस्दैन।

यदि ‘डूम्स डे’ तीव्र गतिमा सूर्यभित्र पस्यो भने उसले एकैचोटि असम्भव ताप, विकिरण, र गुरुत्वाकर्षणको सामना गर्नुपर्ने हुन्छ। डिसी युनिभर्सका धेरैजसो प्राणीहरूका लागि यो तुरुन्त मृत्यु बराबर हो। यदि सूर्यले ‘डूम्स डे’ को शरीरलाई आणविक वा उपपरमाणविक स्तरमै पूर्ण रूपमा नष्ट गरिदियो भने सुपरम्यानको योजना सफल हुन सक्छ। तर यस्तो सम्भव हुन्थ्यो भने पुनर्जीवनका लागि ‘डूम्स डे’ सँग केही पनि बाँकी रहने थिएन।

तर ‘डूम्स डे’ सामान्य जीव होइन। उसको सम्पूर्ण अस्तित्व नै बारम्बार मृत्यु र पुनर्जन्ममार्फत विकास हुने प्रक्रियामा आधारित छ। प्राचीन क्रिप्टनमा वैज्ञानिक बर्टनले उसलाई बारम्बार क्लोन गरेर कठोर वातावरणमा मर्न बाध्य बनायो। हरेक मृत्यु पछि ऊ अझ शक्तिशाली र उही कारणबाट फेरि नमर्ने गरी फर्किन्थ्यो। असंख्य पुस्तापछि ‘डूम्स डे’ एक जीवित इभोलुसन मेसिन बन्यो। त्यसैले सूर्यले उसलाई स्थायी रूपमा मार्न सक्छ कि सक्दैन भन्ने निश्चित छैन। उसको शरीरको सूक्ष्म अंश पनि बाँकी रह्यो भने उसले फेरि आफूलाई पुनर्जीवित गरेर सूर्यको तापलाई सहन सक्ने रूपमा विकास गर्न सक्छ।

‘डूम्स डे’ सम्बन्धी अर्को ठूलो प्रश्न क्रिप्टोनियन जीवविज्ञानसँग सम्बन्धित छ। सुपरम्यानले आफ्नो शक्ति पहेंलो सूर्यको ऊर्जा अवशोसित गरेर पाउँछ। पृथ्वीको सूर्य क्रिप्टोनियनहरूका लागि विशाल ब्याट्रीजस्तै हो, जसले उनीहरूको शक्ति, गति, स्थायित्व, ताप दृष्टी र उडान बढाउँछ। ‘डूम्स डे’ पनि क्रिप्टोन मै सिर्जना भएको हुनाले विश्वास गरिन्छ कि उसमा निरन्तरतामा यो स्पष्ट रूपमा देखाइएको छैन तर यो सम्भावना निकै रोचक छ। यदि ‘डूम्स डे’ ले सुपरम्यानजस्तै सौर्य उर्जा हेर्न सक्छ भने ‘डूम्स डे’ लाई सूर्यमा फाल्नु सुपरम्यानको जीवनकै सबैभन्दा ठूलो गल्ती बन्न सक्छ।

‘डूम्स डे’ ले मर्नुको सट्टा सूर्यको ऊर्जा सीधै हेर्न सक्छ। सुपरम्यानको शक्ति धेरै गुणा बढेको छ र त्यसमा ‘डूम्स डे’ को क्रोध तथा इभोलुसन क्षमता मिसिएको छ। उसको बल कल्पनाभन्दा पर पुग्न सक्छ। उसको स्थायित्व लगभग पूर्ण रूपमा अजेय बन्न सक्छ। पुनर्जन्म शक्ति असम्भव स्तरमा पुग्न सक्छ। अझ डरलाग्दो कुरा त के भने, यदि ऊ सूर्यभित्रै अर्को जन्मका रुपमा विकसित भयो भने ऊ तारा-जस्तो वातावरणमा बाँच्न सक्ने प्राणी बन्न सक्छ। त्यसपछि ‘सौर्य डूम्स डे’ सुपरम्यानका लागि मात्र होइन, सम्भवत सम्पूर्ण आकाशगंगाका लागि खतरा बन्न सक्छ।

यसमा अर्को महत्वपूर्ण कुरा के हो भने धेरै कमिक भर्जनमा ‘डूम्स डे’ उड्न सक्दैन। सुपरम्यानले उसलाई सूर्यमा फाल्न सक्छ, तर यदि ऊ बाँच्छ भने ऊ त्यहीं फस्न पनि सक्छ। सूर्यको गुरुत्वाकर्षण बल अत्यन्त शक्तिशाली हुन्छ र उडान वा प्रोपल्सन बिना बाहिर निस्कन गाह्रो हुन्छ। यस्तो अवस्थामा सुपरम्यानको योजना हत्या होइन, कैद बन्न सक्छ। ‘डूम्स डे’ जीवित रहन्छ तर सूर्यभित्रै कैद हुन्छ। तर यसमा पनि एउटा डर लाग्दो सम्भावना छ।

‘डूम्स डे’ को एड्याप्टिभ शक्ति समयसँगै समाधान खोज्न विकसित हुन सक्छ। उसले सूर्यको वातावरणमा बाँच्न र त्यहाँबाट निस्कन नयाँ शक्ति विकास गर्न सक्छ। कमिक बुक बिकास वास्तविक जीवविज्ञानजस्तो हुँदैन। कथालाई अझ ठूलो बनाउने हिसाबले शक्ति थपिन्छ। यदि उसलाई सूर्यबाट बाहिर निस्कन उडान चाहियो भने उसले त्यो शक्ति विकास गर्न सक्छ। यदि उसलाई गुरुत्वाकर्षण प्रतिरोध चाहियो भने त्यो पनि पाउन सक्छ। उसको शरीर निरन्तर परिवर्तन हुँदै अवरोध पार गर्ने उपाय खोजिरहन्छ। त्यसैले सूर्य स्थायी जेल नहुन सक्छ। त्यो एउटा कोकुन जस्तो बन्न सक्छ जहाँबाट अझ शक्तिशाली ‘डूम्स डे’ जन्मिन सक्छ ।

सुपरम्यानको निर्णयको मानसिक पक्ष पनि महत्वपूर्ण छ। सुपरम्यान सामान्यतया कसैलाई मार्न चाहँदैन। ‘डूम्स डे’ लाई सूर्यमा फाल्नु उसको अन्तिम हताशपूर्ण उपाय हुन सक्छ। सुपरम्यानलाई ‘डूम्स डे’ कति खतरनाक छ भन्ने राम्रोसँग थाहा छ, किनभने ‘डूम्स डे’ ले एकपटक उसलाई नै मारेको थियो। उनीहरूको मेट्रोपोलिसमा भएको युद्ध कमिक इतिहासकै सबैभन्दा प्रसिद्ध घटनामध्ये एक हो। त्यसले सुपरम्यान जस्तो शक्तिशाली नायकलाई पनि हराउन सक्ने राक्षसको रूपमा ‘डूम्स डे’ लाई स्थापित गर्यो। ‘डूम्स डे’ लाई सूर्यमा फाल्ने निर्णयले सुपरम्यानले सामान्य कैद  वा पुनर्वासको आशा छोडेको देखाउँछ।

वैज्ञानिक दृष्टिकोणले हेर्दा, तारा भित्र बाँच्नु लगभग असम्भव छ। सूर्य केवल आगो होइन। त्यो प्लाज्मा, रेडियसन, म्याग्नेटिक चाओस , र क्रसिङ प्रेसरको विशाल फ्युजन रियाक्टर हो। स्टिलभन्दा बलिया पदार्थहरू पनि त्यहाँ टिक्न सक्दैनन्। तर कमिक बुक फिजीक्स वास्तविक विज्ञानभन्दा धेरै पर हुन्छ। सुपरम्यान आफैंले धेरै भौतिक नियमहरू तोडिसकेको छ। त्यसैले लेखकहरूले कथाअनुसार जुन परिणाम चाहियो त्यही देखाउन सक्छन्।

सूर्यले ‘डूम्स डे’ लाई स्थायी रूपमा नष्ट गर्न सक्छ। सुपरम्यानले आफ्नो सबैभन्दा खतरनाक शत्रुलाई समाप्त गर्न सक्छ । तर यदि लेखकहरूले अझ ठूलो खतरा सिर्जना गर्न चाहन्छन् भने सूर्यले ‘डूम्स डे’  लाई अझ शक्तिशाली मन्स्टरमा परिवर्तन गर्न सक्छ। यदि त्यसो भयो भने सूर्यको असीम ऊर्जा हेरेको , स्टेलर तापक्रममा विकसित भएको, र निरन्तर परिवर्तन भइरहने ‘डूम्स डे’ को  संस्करण सम्भवतः रोक्नै नसकिने बन्न सक्छ।

‘डूम्स डे’ लाई सूर्यमा फाल्नु निश्चित समाधान होइन। अधिकांश शत्रुहरूका लागि सूर्य परम हतियार हो। तर ‘डूम्स डे’ का लागि त्यो एउटा ग्याम्बल हो। सुपरम्यानले उसलाई सधैंका लागि समाप्त गर्न सक्छ, वा गल्तीले डिसी युनिभर्स कै सबैभन्दा शक्तिशाली मन्स्टर सिर्जना गर्न सक्छ। यही अनिश्चितताले ‘डूम्स डे’ लाई यति डर लाग्दो भिलेन बनाउँछ। ऊ केवल शक्तिशाली भएकाले खतरनाक छैन। ऊ खतरनाक छ किनभने उसलाई नष्ट गर्ने हरेक प्रयासले उसलाई अझ रोक्न गाह्रो बनाउने सम्भावना राख्छ।

मदनबारे विद्या : जबजको नयाँ प्रयोग आवश्यक

काठमाडौं ।  पूर्वराष्ट्रपति विधादेवी भण्डारीले जननेता मदन भण्डारीको विचार, राजनीतिक योगदान र लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकालाई नेपाली राजनीतिक इतिहासको अमूल्य सम्पत्तिका रूपमा वर्णन गरेकी छन् ।

‘मिडियामा मदन भण्डारी’ पुस्तक माथि केन्द्रित युवा विमर्श कार्यक्रममा बोल्दै उनले मदन भण्डारीका विचारहरू आजको बदलिँदो राजनीतिक र सामाजिक परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको बताइन् । उनका अनुसार उक्त पुस्तक केवल एउटा साहित्यिक कृति नभई नेपालको लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनको विकासक्रम, वैचारिक रूपान्तरण र राजनीतिक यात्रालाई समेट्ने ऐतिहासिक दस्तावेज हो ।

भण्डारीले विशेषगरी २०४६ सालपछि नेपाल नयाँ राजनीतिक युगमा प्रवेश गरिरहेको सङ्क्रमणकालीन अवस्थामा मदन भण्डारीले प्रस्तुत गरेका विचार, पत्रकारहरूसँग गरेका संवाद तथा लोकतन्त्रप्रतिको दृष्टिकोण अहिले पनि मार्गदर्शक रहेको उल्लेख गरिन् । ‘उहाँले देखाउनुभएको बाटो, स्थापित गर्नुभएको वैचारिक आधार तथा लोकतान्त्रिक संस्कृतिप्रतिको अटल प्रतिबद्धता नेपाली राजनीतिक इतिहासमा अमूल्य सम्पत्तिका रूपमा रहेका छन्’, उनले भनिन्। 

भण्डारीले लोकतन्त्रप्रतिको आस्था, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय, सार्वजनिक उत्तरदायित्व, जवाफदेहिता र राष्ट्रिय एकताका विषयहरू पुनः राष्ट्रिय बहसको केन्द्रमा रहेको भन्दै यस्ता चुनौती समाधान गर्न मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन आवश्यक रहेको बताइन् ।

गरेका संवादहरू आज पनि अत्यन्तै सान्दर्भिक रहेको बताइन् । 

‘लोकतन्त्रप्रतिको आस्था, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताका प्रश्नहरू अहिले पनि राष्ट्रिय बहसका प्रमुख विषय बनेको छ। जननेता मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन र समयानुकूल प्रयोग आवश्यक छ’, उनले भनिन्। 

उनले वर्तमान विश्व र नेपाल दुवै जटिल तथा बहुआयामिक चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै युवा पुस्ताले विगतका वैचारिक धाराहरूको अध्ययन गरेर भविष्यको दिशा पहिचान गर्नुपर्ने धारणा राखिन् । उनका अनुसार मदन भण्डारीले आफ्नो समयका चुनौतीहरूलाई कसरी आत्मसात् गरे, तिनको विश्लेषण र व्याख्या कसरी गरे तथा समाधानका उपायहरू जनतासमक्ष कसरी प्रस्तुत गरे भन्ने कुरा आजको पुस्ताका लागि पनि प्रेरणादायी छ ।

भण्डारीले मदन भण्डारीलाई सामान्य राजनीतिक नेता मात्रै नभई विचार निर्माण गर्ने चिन्तक, सिद्धान्तकार तथा दूरदर्शी नेतृत्वकर्ताका रूपमा स्मरण गरिन् । उनले राजनीतिक आन्दोलनलाई सुदृढ वैचारिक आधार प्रदान गर्नुका साथै जनताको आकांक्षालाई राजनीतिक कार्यक्रमसँग जोड्ने अद्वितीय क्षमता मदन भण्डारीमा रहेको बताइन् । साथै, उनी सञ्चारमाध्यमको शक्ति, जनमतको महत्व तथा विचारको प्रभावलाई गहिरोसँग बुझ्ने मिडियामैत्री राजनीतिज्ञ रहेको पनि उनले उल्लेख गरिन् ।

उनका अनुसार लामो समय भूमिगत राजनीतिमा सक्रिय रहे पनि मदन भण्डारीको खुला राजनीतिक जीवन छोटो थियो, तर त्यस अवधिमा उनले छोडेको वैचारिक प्रभाव र राजनीतिक योगदान अत्यन्त दीर्घकालीन र प्रभावकारी रह्यो । उनले स्थापित गरेको वैचारिक आधार, लोकतान्त्रिक संस्कृतिप्रतिको प्रतिबद्धता तथा जनमुखी राजनीतिक सोच आज पनि नेपाली राजनीतिमा महत्वपूर्ण मार्गनिर्देशकका रूपमा रहेको भण्डारीको भनाइ थियो ।

कार्यक्रममा बोल्दै उनले युवा पुस्तालाई आधुनिक सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गर्न पनि सुझाव दिइन् । कृत्रिम बुद्धिमत्ता (एआई) लगायत विज्ञान र प्रविधिका नयाँ उपलब्धिहरूलाई सकारात्मक तथा रचनात्मक रूपमा आत्मसात् गर्दै दक्षता हासिल गर्नु आजको पुस्ताको प्रमुख जिम्मेवारी भएको उनले बताइन् । प्रविधिको विकाससँगै विचार, सूचना र जनमत निर्माणको स्वरूप बदलिँदै गएको उल्लेख गर्दै उनले युवाहरूलाई अध्ययन, बहस र वैचारिक विकासमा सक्रिय हुन आग्रह गरिन् ।

भण्डारीले मदन भण्डारीका विचारहरूलाई समयअनुकूल रूपमा थप विकास गर्दै व्यवहारमा लागू गर्नु अहिलेको आवश्यकता भएको बताइन् । उनले लोकतन्त्र, सामाजिक न्याय, सुशासन र राष्ट्रिय एकताका विषयमा गहिरो बहस आवश्यक रहेको उल्लेख गर्दै युवाहरूले जननेता मदन भण्डारीले देखाएको बाटोलाई आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गरिन् । उनका अनुसार मदन भण्डारीले निर्माण गरेको वैचारिक विरासत केवल इतिहासको विषय होइन, वर्तमान र भविष्यको राजनीतिक मार्गदर्शन पनि हो ।

भैरव अर्यालले मविवि शाहलाई लेखेकाे छन्दोबद्ध कविता-पत्रमा के थियो ?

नेपाली साहित्यका प्रसिद्ध हास्य-व्यङ्ग्यकार भैरव अर्याल  व्यङ्ग्य लेख्ने प्रतिभाशाली लेखक हुन् ।  अर्यालका लेख पढ्दा जति हाँस उठ्दा व्यंग्यविनोदमय छन् । त्यति नै उनि संघर्षको राप ताप भोगे। अभावबाट गुज्रिए।

जे सुकै भएपनि उनको अध्ययनप्रतिको लगाव पनि अद्भुत  थियो । उनको जीवनका धेरै घटनामध्ये एउटा निकै रोचक र प्रेरणादायी एउटा घटना छ।

प्रसंग हो,तत्कालिन युवराज महेन्द्र वीर विक्रम शाहलाई छन्दोबद्ध कविता-पत्रको।

त्यतिबेला भैरव अर्याल आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा थिए । उनी पढाइलाई निरन्तरता दिन चाहन्थे। उनले बद्रीनाथ आचार्यको डेरामा खाना पकाउने काम गरेर पूर्वमध्यमा अध्ययन पूरा गरेका थिए । अभावबीच पनि उनले आफ्नो अध्ययन रोकेनन् । पूर्वमध्यमा उत्तीर्ण भएपछि उनको इच्छा सम्पूर्ण मध्यमा अध्ययन गर्ने थियो ।

सम्पूर्ण मध्यमाको परीक्षा दिन फारम भर्न आवश्यक शुल्क भारु १० रुपियाँ लाग्थ्यो । हुन त  आजको समयसँग तुलना गर्दा उक्त रकम कम लाग्न सक्छ।  तर त्यतिबेला अर्यालका लागि १० रुपियाँ जुटाउनु निकै ठूलो चुनौतीको कुरो थियो ।

उनीसँग न स्थायी आम्दानी थियो, न आर्थिक सहयोग गर्ने अवस्था भएका आफन्त। पढ्ने तीव्र इच्छा हुँदाहुँदै पनि पैसा अभावले उनको सपना अधुरो हुने अवस्था कै  सिर्जना भयो ।

तर अर्याल पनि चानचुने हार मान्ने मान्छे थिएनन् । उनीभित्र सिर्जनशीलता थियो, कविता लेख्ने क्षमता थियो । र दृढ सङ्कल्प थियो। यसो उनले सोचे यदि आफ्नो यहि प्रतिभालाई प्रयोग गर्ने हो भने शायद कुनै उपाय निस्कन सक्छ ।

त्यही समयमा तत्कालीन युवराज महेन्द्र पनि साहित्य र कवितामा रुचि राख्थे । अर्याललाई लाग्यो, एउटा कविको भावना अर्को कविले अवश्य  कसरी नबुझ्लान्  ?

त्यसपछि उनले आफ्नो समस्या, अध्ययन गर्ने चाहना र आर्थिक कठिनाइलाई समेटेर छन्दोबद्ध शैलीमा एउटा कविता-पत्र तयार गरे । उक्त पत्रमा उनले आफू सम्पूर्ण मध्यमा पढ्न चाहेको, तर फारम भर्न आवश्यक १० रुपियाँ नभएको उल्लेख गरेका थिए । साथै, युवराजबाट सहयोग प्राप्त भए आफ्नो भविष्य निर्माणमा ठूलो मद्दत पुग्ने विनम्र आग्रह पनि गरेका थिए ।

अर्यालले त्यो कविता-पत्र नारायणहिटी दरबारमा गएर दर्ता गराए । त्यतिबेला दरबारसम्म सामान्य व्यक्तिको पहुँच सजिलो थिएन । त्यसैले उनले निकै साहस गरेर त्यो कदम चालेका थिए । पत्र बुझाएपछि उनी पत्र आउने पर्खाईमा बसे ।

केही दिनपछि दरबारबाट एक सिपाही घोडामा चढेर भैरव अर्याल बस्ने डेरामा आइपुगे । सिपाहीले ठूलो स्वरमा ‘भैरवप्रसाद अर्याल को हो ?’ भनेर सोधे । झ्यालबाट हेर्दै गरेका भैरव यो दृश्य देखेर डराए ।

उनले सोचे, युवराजलाई पत्र लेखेको कारण उनलाई पक्राउ गर्न सिपाही आएको होला । डरले उनी खाटमुनि लुक्न पुगे ।

पछि डेरानजिकैकी एक महिलाले सिपाहीसँग कुरा गरिन् । त्यसक्रममा वास्तविकता खुल्यो । दरबारबाट सिपाही पक्राउ गर्न नभई युवराजले पठाएको सहयोग रकम दिन आएका रहेछन् । यो कुरा थाहा पाएपछि मात्र भैरव ढुक्क भएर बाहिर निस्किए ।

अर्यालले १० रुपियाँ सहयोग मागेका थिए। तर युवराज महेन्द्र उनको कविता-पत्रबाट प्रभावित भएछन् र उनले मागभन्दा दोब्बर अर्थात् २० रुपियाँ पठाइदिए छन्। त्यो रकम पाएपछि भैरवले परीक्षा फारम भरे र अध्ययनलाई अघि बढाए ।

उक्त घटनापछि टोल-छिमेकमा भैरव अर्यालको चर्चा चुलियो । धेरैले उनलाई दरबारसँग पहुँच भएको मान्छेसँग तुलना गर्न थाले ।

आजपनि अर्याल  नेपाली साहित्यमा हास्य-व्यङ्ग्यकारका रूपमा जाज्वल्यमान ध्रुव ताराका रुपमा स्थापित छन्। तर उनको जीवनको राप,ताप र संघर्षको गाथा भने त्यति कसैलाई थाहा छैन।

अवस्य त्यो मुस्कुराईरहेको अनुहार भित्रको अर्को भैरव अर्याल एकदिन सबैले देख्ने छन्।

जुम्लामा स्वास्थ्य बिमा नवीकरण गर्नेको संख्या घट्दो

जुम्ला। जिल्लामा स्वास्थ्य बिमा नवीकरण गर्नेको सङ्ख्या पछिल्लो समयमा निरन्तर घट्दै गएको देखिएको छ।

स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी तीर्थराज जोशीका अनुसार जिल्लामा हालसम्म करिब एक लाख तीन हजार नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्। तर तीमध्ये सक्रिय बिमितको सङ्ख्या मात्र ४४ हजार ४७९ रहेको छ। यसअनुसार करिब ५६ हजारले आफ्नो बिमा नवीकरण नगरेको तथ्यांकले देखाएको छ।

जिल्लामा १४ हजार ८८५ घरपरिवार स्वास्थ्य बिमामा सूचीकृत छन्। यसैगरी ज्येष्ठ नागरिक ३ हजार ९२३, अति अशक्त अपाङ्गता भएका ९८ र महिला स्वास्थ्य स्वयंसेविका ३०६ जनाको परिवार पनि बिमा कार्यक्रममा आबद्ध रहेको कार्यालयले जनाएको छ।

त्यस्तै अति गरिब परिवारतर्फ करिब १७ हजार ३१२ जनाले बिमा नवीकरण नगरेपछि कुल नवीकरण दर घटेको देखिएको छ। अति गरिब घरपरिवारको निःशुल्क बिमा नवीकरण गर्ने सरकारी व्यवस्था बन्द भएपछि नवीकरण नगर्नेहरूको संख्या बढेको दर्ता अधिकारी जोशीले बताए।

सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठरोगी, एचआईभी सङ्क्रमित र ज्येष्ठ नागरिकलाई निःशुल्क बिमाको सुविधा उपलब्ध गराउँदै आएको छ। अन्य नागरिकका लागि भने वार्षिक शुल्क तिरेर एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा सेवा लिने व्यवस्था रहेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ।

यद्यपि, बिमा प्रणालीको प्रयोगमा देखिएको अनियमितता नियन्त्रण गर्न बोर्डले हाल सहभुक्तानी (को–पेमेन्ट) व्यवस्था लागू गरेको छ। साथै, बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रत्येक वडामा दर्ता सहयोगी परिचालन गरी घरदैलोमै पुगेर नागरिकलाई बिमामा सहभागी गराउने अभियान पनि सञ्चालन भइरहेको छ।

नवीकरण घट्नुका मुख्य कारणहरूमा सेवा गुणस्तरमा कमी, तोकिएका अस्पतालमा औषधि सहज रूपमा उपलब्ध नहुनु, लामो लाइन बस्नुपर्ने बाध्यता, उपचारमा ढिलाइ तथा अस्पतालहरूले बिमितको भुक्तानी समयमा नपाउने समस्या रहेका छन्। यस्ता समस्याका कारण आम नागरिकमा स्वास्थ्य बिमा कार्यक्रमप्रति विश्वास घट्दै गएको स्थानीय बासिन्दाको भनाइ छ।

जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम २०७४ सालदेखि विस्तार गरिएको हो।

 

१९ औँ स्ट्रिट फेस्टिभल दरबारमार्ग(तस्विरहरु)

काठमाडौं। राजधानीको प्रमुख पर्यटकीय तथा व्यावसायिक केन्द्र दरबारमार्ग आज १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभलको रंगीन माहोलमा रमाएको छ । यस वर्षको महोत्सवलाई मुख्य प्रायोजन गरेको ‘एक्सट्रीम इनर्जी ड्रिङ्क’ का कारण कार्यक्रमलाई विशेष रूपमा ‘एक्सट्रीम स्याटर्डे’ नाम दिइएको छ, जसले फेस्टिभललाई थप आकर्षक र ब्रान्डेड स्वरूप प्रदान गरेको छ ।

दरबारमार्ग विकास बोर्डको पहलमा, माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सको संयुक्त आयोजनामा सम्पन्न यो महोत्सवले राजधानीका स्थानीयदेखि विदेशी पर्यटकसम्मलाई आकर्षित गरेको छ । दरबारमार्ग क्षेत्र दिनभर सांगीतिक धुन, खेलकुद गतिविधि र सांस्कृतिक प्रस्तुतिहरूले गुञ्जायमान बनेको थियो । आयोजकका अनुसार महोत्सवको उद्देश्य शहरको सांस्कृतिक, सामाजिक र व्यावसायिक जीवनलाई एकै स्थानमा जोड्दै जनमैत्री वातावरण सिर्जना गर्नु हो ।

महोत्सवमा सबै उमेर समूहका दर्शकलाई लक्षित गर्दै विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको छ । बालबालिकाका लागि छुट्टै खेल क्षेत्रको व्यवस्था गरिएको छ, जहाँ उनीहरू विभिन्न इनडोर तथा आउटडोर खेल गतिविधिमा सहभागी भएका छन् । युवाहरूका लागि ३x३ बास्केटबल प्रतियोगिता र ई–स्पोर्ट्स प्रतिस्पर्धा विशेष आकर्षण बनेका छन् ।

त्यस्तै, सांस्कृतिक झाँकीहरू, कस्प्ले शो र फोटो बुथहरूले फेस्टिभलमा आउने आगन्तुकहरूलाई रमाइलो अनुभव प्रदान गरिरहेका छन् । विभिन्न रचनात्मक पोशाकमा सजिएका सहभागीहरूले दरबारमार्गलाई रंगीन र उत्साहपूर्ण वातावरणमा परिणत गरेका छन् ।

खाद्य तथा पेय पदार्थका स्टलहरू पनि महोत्सवको अर्को महत्वपूर्ण आकर्षण बनेका छन् । विभिन्न स्वादका परिकारहरू, स्थानीयदेखि अन्तर्राष्ट्रिय फास्टफुडसम्मका स्टलहरूले आगन्तुकलाई विविध स्वादको अनुभव दिइरहेका छन् । विशेषगरी युवाहरू र पर्यटकहरूले यी स्टलहरूमा लामो समय बिताइरहेका देखिन्छन् ।

सांगीतिक कार्यक्रमतर्फ मुख्य तथा सहायक स्टेजमा चर्चित डिजे तथा कलाकारहरूको निरन्तर प्रस्तुति भइरहेको छ । दिनभरि चल्ने लाइभ म्युजिक र डीजे सेसनले दरबारमार्गलाई खुला सांगीतिक उत्सवमा रूपान्तरण गरेको छ । दर्शकहरू संगीतको तालमा नाच्दै उत्सवको आनन्द लिइरहेका छन् ।

कार्यक्रममा आज विभिन्न लोकप्रिय ब्यान्ड तथा कलाकारहरूको प्रस्तुति रहने छ । जसमा जोन एण्ड द लोकल्स, द एक्स, फोल्कट्रोनिक्स, एसटी म्यान, जे अथर, सालिन मगर एण्ड ब्याण्ड, प्रिजोल नेपाली एण्ड सरर तथा गन एल्भिस जस्ता कलाकारहरूको प्रस्तुति विशेष आकर्षणका रूपमा रहेको छ । यी प्रस्तुति मार्फत नेपाली संगीतको विविधता र नयाँ पुस्ताको ऊर्जा दर्शकसामु प्रस्तुत गरिएको छ ।

आयोजकहरूले यो फेस्टिभललाई केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई काठमाडौंको सांस्कृतिक पहिचान, पर्यटन प्रवर्द्धन र स्थानीय व्यवसायको विकाससँग जोडिएको महत्वपूर्ण प्लेटफर्मका रूपमा लिएको बताएका छन् । दरबारमार्ग क्षेत्रमा आयोजना हुने यस्ता कार्यक्रमहरूले शहरको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

महोत्सवको सम्पूर्ण दिनभरि सुरक्षा, व्यवस्थापन र आपतकालीन सेवाहरू पनि चुस्त राखिएको छ, जसले सहभागीहरूलाई सुरक्षित वातावरणमा उत्सवको आनन्द लिन मद्दत पुर्‍याएको छ । आयोजकका अनुसार फेस्टिभललाई अझ व्यवस्थित, आकर्षक र अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास आगामी वर्षहरूमा पनि निरन्तर जारी रहनेछ ।