`

म्यानमारका पूर्वराष्ट्रपति मिन्ट रिहा,सुकीको सजाय कटौती

एजेन्सी। म्यानमारका पूर्वराष्ट्रपति विन मिन्ट रिहा भएका छन्। त्यस्तै, जेलमा रहेकी नेत्री आङ सान सुकी को सजाय कटौती गरिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

नवनिर्वाचित राष्ट्रपति मिन आङ ह्लाइङको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा विन मिन्टलाई माफी दिइएको उल्लेख छ।

सरकारी टेलिभिजनका अनुसार नयाँ राष्ट्रपतिले ४ हजार ३३५ कैदीहरूको सजाय माफी गरेका छन्।

म्यानमारमा सामान्यतया जनवरीको स्वतन्त्रता दिवस र अप्रिलको नयाँ वर्षका अवसरमा कैदीहरूलाई माफी दिने चलन रहँदै आएको छ।

सुकीको सजाय भने छ भागको एक भागले घटाइएको छ। उनी हाल २७ वर्षको जेल सजाय भोगिरहेकी छन्।

तर उनी बाँकी सजाय जेलमै वा नजरबन्दमा पूरा गर्ने भन्ने विषय स्पष्ट भइसकेको छैन।

सुकीमाथि भ्रष्टाचार, चुनावी अनियमितता, राज्य गोपनीयता उल्लंघन र जनतालाई उक्साएको लगायतका आरोप लगाइएको छ, जसलाई उनका सहयोगीहरूले राजनीतिक रूपमा प्रेरित भनेका छन्।

रातभरी कानुन पढ्ने गरेको गृहमन्त्री गुरुङको दाबी

काठमाडौं। उच्च पदस्थ व्यक्तिहरू अदालतबाट छुटेको विषयमा गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि व्यक्त गरेका छन्। गृहमन्त्री बनेपछि आफूले सुशासनलाई प्राथमिकतामा राख्दै काम गरिरहेको उल्लेख गर्दै उनले कार्की आयोगको प्रतिवेदनसमेत कार्यान्वयनमा ल्याइसकेको बताए। तर, अदालतबाट आरोपितहरू छुट्नुले आफू निराश भएको उनको भनाइ छ।

‘मलाई लाग्थ्यो, गृहमन्त्री भएपछि धेरै सुधार गर्न सकिन्छ,’ उनले भने, ‘तर अहिले त न्यायाधीश नै सबैभन्दा शक्तिशाली जस्तो लाग्न थालेको छ।’

विगतका घटनाबाट सिक्दै अब अदालतबाट नछुट्ने गरी कसरी कारबाही अगाडि बढाउने भन्ने विषयमा अध्ययन गरिरहेको उनले बताए। ‘अहिले म रातिरातिसम्म कानुनका किताब पढिरहेको छु,’ उनले भने, ‘प्रहरीलाई पनि प्रमाण बलियो बनाएर मुद्दा अघि बढाउन निर्देशन दिइसकेको छु।’

गुरुङले कानुनी अध्ययनका लागि छुट्टै टोली गठन गरिएको जानकारी दिँदै अब यस्तो अवस्था दोहोरिन नदिने प्रतिबद्धता जनाए।

यसअघि २३ र २४ भदौको घटनामा गठित गौरीबहादुर कार्की आयोगको सिफारिसअनुसार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक तथा पूर्वमन्त्री दिपक खड्का अदालतको आदेशपछि रिहा भएका थिए।

गृहमन्त्री गुरुङले काँध हाले अभयलाई, स्वयम्भुमा गरियो अन्तेष्टि(भिडियाे)

काठमाडौं। ट्रक दुर्घटनामा ज्यान गुमाएका प्रहरी इन्स्पेक्टर अभय लामाको आज अन्त्येष्टि गरिएको छ। 

स्वयम्भुनाथमा बौद्ध परम्पराअनुसार सम्पन्न दाहसंस्कारमा गृहमन्त्री सुधन गुरुङ स्वयं उपस्थित भई लामाको शवमा काँध हालेका थिए। एक प्रहरी अधिकारीको निधनमा गृहमन्त्री स्वयं सहभागी भएर दाहसंस्कार गर्ने ठाउँ सम्म पुर्‍याएको यो घटना विरलै मध्येको एक हो ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका-४ घर भएका लामा गत चैत २९ गते काठमाडौंमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए। 

लामा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए। सोही दिन ड्युटी सकेर घर फर्कंदै गर्दा तारकेश्वर नगरपालिका-८, डाँडागाउँमा दुर्घटना भएको थियो। लामाले चलाएको बा.प्रा ०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बा.प्रा ०३-००१ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो।

टी-२० र लिग-२ का लागि क्यानद्वारा पौडेल र ऐरीको कप्तानीमा टोली घोषणा

काठमाडौं । आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी-२० आई र क्रिकेट वर्ल्ड कपको लिग-२ शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन् ।

टी-२० स्क्वाड:

दिपेन्द्र सिंह ऐरी (कप्तान),सन्दिप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल ,आरिफ शेख, सन्दीप जोरा, बसिर अहेमद, गुलशन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल 

त्यस्तै, आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको लिग-२ प्रतियोगिताको लागि पनि टोली घोषणा भएको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो। 

लिग-२ स्क्वाड:

रोहित पौडेल(कप्तान), दिपेन्द्र सिंह ऐरी(उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दिप लामिछाने, ललितनारायण राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल, करन केसी 

अर्जुन कुमालले नेपालका लागि ओडिआई खेल्ने टोलीमा पहिलोपल्ट स्थान बनाएका हुन्।  उनी भर्खरै सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको सर्वाधिक रनकर्ता समेत हुन्।  

को बन्छ कांग्रेस संसदीय दलको नेता ?

काठमाडौं। नेपाली कांग्रेसले  शुक्रबार संसदीय दलको नेता चयन गर्ने भएको छ।

दलको नेता चयनका लागि निर्वाचन समितिले सबै सांसदलाई छलफलका लागि बोलाएको छ।

निर्वाचन समितिका संयोजक तथा कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार शुक्रबार दिउँसो ३ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्नेछ।

प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद रहेका छन्। दलको नेताका प्रमुख दाबेदारमा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे रहेका छन्। यसबाहेक मोहन आचार्यदेखि निश्कल राईसम्मको चर्चा रहेको छ।

कांग्रेसले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिरहेको छ। सहमति नभए निर्वाचन प्रक्रियाबाट टुंग्याइने तयारी छ।

आन्तरिक छलफलअनुसार नेताहरूबीच सहमति जुटाउने प्रयास जारी रहेको बताइएको छ।

बाइक-स्कुटर साटेर टियागो ईभी चढ्ने मौका

काठमाडौं। नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै टाटा मोटर्स का लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ ले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ।

कम्पनीले ‘स्विच टु टियागो ईभी’ नामक अभियानअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो ईभी लिन सक्ने जनाएको हो ।

यो अभियान अप्रिल १७ देखि २०, २०२६ सम्म देशभर सञ्चालन हुनेछ। जुनसुकै ब्रान्डका दुईपाङ्ग्रे सवारी साटेर ग्राहकहरूले टियागो ईभी खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार यो योजनाअन्तर्गत ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो ईभी लिन सकिनेछ। साथै पुरानो सवारीको उचित मूल्यांकन, नगद छुट, निःशुल्क एक्सेसरिज र एक वर्षको सवारी कर छुट जस्ता सुविधा उपलब्ध हुनेछन्।

त्यस्तै, सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र निःशुल्क होम चार्जिङ इन्स्टलेसन सुविधा पनि दिइनेछ। लक्की ड्रमार्फत एक जना ग्राहकले आइफोन-१७ प्रो म्याक्स जित्ने अवसर समेत पाउने कम्पनीले जनाएको छ।

कम्पनीले यो योजना सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि उपयोगी हुने विश्वास व्यक्त गरेको छ।

ऐरीको कप्तानीमा यूएईसँगको टी-२० आई शृंखलाका लागि नेपाली टोली घोषणा

काठमाडौं। आगामी सोमबार र मंगलबार काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने युएईसँगको टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।

यस पटकको टोलीमा रोहित पौडेल समावेश छैनन्। यस्तै कुशल मल्ल र अर्जुन साउद पुनः टोलीमा फर्किएका छन्।

क्यानका अनुसार कुशल मल्लले टी-२० विश्वकप एसिया छनोटपछि पहिलो पटक टोलीमा पुनरागमन गरेका हुन् भने अर्जुन साउदले सन् २०२२ पछि पुनः अवसर पाएका हुन्।

त्यस्तै सन्तोष यादव र हेमन्त धामी पनि टोलीमा परेका छन्, जसले अहिलेसम्म अन्तर्राष्ट्रिय टी-२० खेलमा डेब्यू गर्न बाँकी छ।

क्यानले टी-२० आईका लागि दीपेन्द्र ऐरीलाई कप्तान र एकदिवसीय टोलीका लागि रोहित पौडेललाई कप्तान बनाउने निर्णय गरेको जनाएको छ।

डुंगा पल्टिँदा बुबा-छोरा बेपत्ता

अछाम। कर्णाली नदी मा डुंगा पल्टिँदा बुबा-छोरा बेपत्ता भएका छन्।

अछामको तुर्माखाँद गाउँपालिका-३, भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टँदा दुई जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा तुर्माखाँद-३, बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा रहेका छन्।

बिहीबार साँझ कर्णालीपारि पञ्चपुरी नगरपालिका-७ स्थित वनबाट घाँस काटेर फर्किने क्रममा डुंगा अचानक पल्टिएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बेपत्ताको खोजीका लागि विपद् उद्धार तालिमप्राप्त टोली घटनास्थलतर्फ पठाइएको छ।

प्रधानमन्त्री बालेनको निवेदन सर्वोच्चमा,आज सुनुवाइ हुँदै

 

काठमाडौं । प्रधानमन्त्री तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफूविरुद्ध रहेको अदालतको अवहेलना मुद्दामा वारेस राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन्।

उक्त निवेदनमाथि शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र शान्तिसिंह थापाको इजलासमा सुनुवाइ हुने भएको हो। बालेन शाहले बिहीबार वारेस राख्ने अनुमति माग गर्दै निवेदन दायर गरेका थिए।

यसअघि पनि उनले वारेस राख्न माग गरेका थिए, तर अदालतले अस्वीकार गरेपछि उनी आफैं उपस्थित भएर तारेख धाउँदै आएका थिए।

यो मुद्दा पाटन उच्च अदालतको आदेशसँग सम्बन्धित घटनापछि सुरु भएको हो, जसमा महानगरको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरिएको थियो। त्यसपछि बालेन शाहले सामाजिक सञ्जालमार्फत अदालतप्रति आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा अवहेलना मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा अधिवक्ता वर्षा कुमारी झाले सर्वोच्च अदालतमा निवेदन दायर गरेकी थिइन्। त्यसपछि अदालतले बालेन शाहलाई किन कारबाही नगर्ने भन्ने विषयमा लिखित जवाफ मागेको थियो। उनले आफ्नो जवाफमा अदालतको आदेश उल्लंघन नगरेको दाबी गरेका थिए।

ओली भेट्न अस्पताल पुगे प्रचण्ड

काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालमा उपचाररत केपी शर्मा ओली लाई भेट्न नेकपाका संयोजक प्रचण्ड टिचिङ अस्पताल पुगेका छन्।

पत्थरीको शल्यक्रियापछि उपचाररत ओलीलाई भेट्न बिहीबार प्रचण्ड अस्पताल पुगेका हुन्। एमाले सचिव भानुभक्त ढकाल का अनुसार ओलीलाई आइसीयुबाट सामान्य वार्डमा सारिएपछि स्वास्थ्यलाभको कामना गर्न प्रचण्ड त्यहाँ पुगेका थिए।

नेकपा नेताहरूका अनुसार दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको थियो। पछिल्लो समय एमाले र नेकपाबीच पुनः एकताको चर्चा भइरहेका बेला शीर्ष नेतृत्वबीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

ओर्जिनल कांग्रेस विवाद : सर्वोच्चमा आज पनि सुनुवाइ

काठमाडौं। नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ। निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिकता दिएको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिटमा बिहीबार सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ। देउवा पक्ष तथा निर्वाचन आयोगका तर्फबाट सरकारी वकिलको बहस सकिएको छ भने आज विपक्षी बनाइएका कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको तर्फबाट प्रतिरक्षा बहस हुने जनाइएको छ।

यसअघि सर्वोच्च अदालतले उक्त विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। २०८२ माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश नदिई निर्वाचन आयोगलगायत पक्षसँग लिखित जवाफ माग गरेको थियो।

निर्वाचन आयोग, नेपाली कांग्रेसको पार्टी कार्यालय र गगन थापा पक्षबाट लिखित जवाफ पेस भइसकेपछि मुद्दा सुनुवाइका लागि अगाडि बढाइएको हो।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसभित्र आधिकारिकताको विवाद उत्पन्न भएको हो।

उक्त विषयमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत श्रवणकुमार श्रेष्ठले रिट दायर गरेका थिए। रिटमा निर्वाचन आयोगको निर्णय बदर गर्न तथा नयाँ कार्यसमितिलाई अवैधानिक घोषणा गर्दै भंग गर्न माग गरिएको छ।

देउवा पक्षले भने नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने भन्दै त्यसलाई अस्वीकार गर्दै आएको छ।

संसद्का १२ समितिले सभापति पाउँदै,को को छन् उम्मेदवार ?

काठमाडौं । संघीय संसद्का १२ वटा समितिले शुक्रबार सभापति पाउने भएका छन्। प्रतिनिधिसभाअन्तर्गतका १० विषयगत समिति र २ संयुक्त समितिका सभापतिको निर्वाचन आज हुने कार्यसूची रहेको छ।

सम्बन्धित समितिको बैठकमार्फत सभापतिको निर्वाचन गरिनेछ। यद्यपि, १० वटा समितिका सभापति भने हिजै निर्विरोध चयन भइसकेका छन्। बिहीबार संघीय संसद् सचिवालयमा मनोनयन दर्ता हुँदा एकल उम्मेदवारी परेका उनीहरू निर्विरोध भएका हुन्।

दुई समितिमा भने एकभन्दा बढी उम्मेदवार परेकाले आज मतदान हुनेछ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की ओजस्वी शेरचन र नेकपा (एमाले)का गुरुप्रसाद बरालबीच प्रतिस्पर्धा हुने भएको छ।

त्यस्तै, संयुक्त समिति ‘राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति’ को सभापतिका लागि रास्वपाका गणेश कार्की र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की मदनकुमारी शाह (गरिमा)बीच प्रतिस्पर्धा हुने भएको छ।

यसअघि प्रतिनिधिसभाअन्तर्गतका अर्थ समितिको सभापतिमा रास्वपाका डा. कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिमा समीक्षा बास्कोटा, संयुक्त संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्विरोध भएका छन्।

महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी पनि निर्विरोध चयन भएका छन्।

शुक्रबार दिउँसो १ बजे सबै समितिको बैठक बस्नेछ, जसमा निर्विरोध भएका सभापतिको औपचारिक घोषणा गरिनेछ।

इरानसँग सम्झौतामा निकै नजिक पुगे अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

काठमाडौं । इजरायल र लेबनानबीच १० दिने युद्धविराम भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा युद्धविराम सम्भव भएको हो। लेबनानमा युद्धविराम लागू भएसँगै राजधानी बेरुतका केही क्षेत्रमा उत्सवका रूपमा गोली प्रहार र रकेट विस्फोटका आवाज सुनिएको जनाइएको छ।

यद्यपि, अवस्था अझै संवेदनशील रहेको छ। लेबनानी सेनाले शुक्रबार बिहान इजरायलले युद्धविराम उल्लंघन गर्दै दक्षिणी गाउँहरूमा छिटफुट गोलाबारी गरेको आरोप लगाएको छ। इजरायली सेनाले भने यसबारे तत्काल प्रतिक्रिया नदिए पनि आफ्नो फौज क्षेत्रमै तैनाथ रहेको जनाएको छ।

हिज्बुल्लाहले विज्ञप्ति जारी गर्दै युद्धविराम लागू हुनुभन्दा १० मिनेटअघि आफ्नो अन्तिम आक्रमण भएको जनाएको छ। त्यसपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत हिज्बुल्लाहलाई युद्धविराम पालना गर्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘अब हत्या रोक्नुपर्छ, अन्ततः शान्ति आवश्यक छ।’

यसैबीच, ट्रम्पले अमेरिका र इरानबीच आगामी सप्ताहन्तमा अर्को चरणको वार्ता हुन सक्ने संकेत दिएका छन्, जसले इरानसँगको युद्ध अन्त्य नजिक पुगेको देखाएको छ। उनका अनुसार इरानले २० वर्षभन्दा बढी समयसम्म परमाणु हतियार नबोक्ने प्रस्ताव अघि सारेको छ।

गत सप्ताहन्त पाकिस्तानको इस्लामाबादमा भएको वार्तामा तेहरानको परमाणु कार्यक्रम मुख्य विवादको विषय बनेको थियो। ट्रम्पले ‘हामी नजिक पुगेका छौं, इरानसँग सम्झौता सम्भव देखिन्छ’ भन्दै युद्ध चाँडै अन्त्य हुन सक्ने संकेत गरेका थिए।

फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि सुरु भएको इरानसँगको युद्धमा हजारौँको मृत्यु भइसकेको बताइएको छ। यस युद्धका कारण तेलको मूल्यमा तीव्र वृद्धि भएको र अमेरिकी प्रशासनमाथि राजनीतिक दबाब पनि बढेको छ।

कांग्रेसको प्रदेश सभापति र मुख्यमन्त्रीको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका सभापतिहरू, आफ्ना मुख्यमन्त्रीहरू तथा प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गर्ने भएको छ। कांग्रेसले आगामी ६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाउँदै सम्बन्धित सबै पदाधिकारीलाई उपस्थित हुन आह्वान गरेको छ।

बैठकमा गण्डकी प्रदेशमा हालै भएको मन्त्रिपरिवर्तनको विषय प्रमुख एजेन्डा रहने बताइएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रसँग परामर्श नगरी मन्त्रीहरूको नयाँ नियुक्ति गरेको भन्दै पार्टीभित्र चासो बढिरहेको छ।

गण्डकीमा कांग्रेस र एमालेबीच ४/४ मन्त्रालयको भागबण्डा मिलाएर उनले बुधबार मन्त्रालय हेरफेर गरेका थिए।

मातातीर्थ औँसीमा शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने : ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’

काठमाडौँ । मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा प्रधानमन्त्री बालेन शाहले सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च हुने उल्लेख गरेका छन्।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने शास्त्रीय वचन उद्धृत गर्दै उनले आमाको काख न्यानो र चरण तीर्थसरह पवित्र हुने बताएका छन्। सृष्टिको आधार आमाहरूलाई उनले माया र त्यागको अनुपम प्रतीकका रूपमा चित्रण गर्दै सबै आमाहरूको दीर्घायुको कामना गरेका छन्।

प्रधानमन्त्री शाहले आमालाई जीवनको पहिलो गुरु र अनन्त ममताको स्रोतका रूपमा सम्मान व्यक्त गरेका छन्। सन्तानका रूपमा आफ्ना कर्मले आमाहरूलाई सधैं गर्व महसुस गराउन सकियोस् भन्ने कामना गर्दै उनले भनेका छन्, ‘हामी सन्तानले आमालाई सधैं हँसाउन सकौँ र हाम्रो कर्मप्रति आमाले गर्व गर्न सकून्।’

शुभकामनामा उनले मातृभक्तिसँगै देशभक्तिको भावना पनि जोड्दै ‘हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ भन्ने सन्देश दिएका छन्।

जनकपुर रिफाइनरीमा आगलागी हुँदा १५ करोड बराबरको क्षति

काठमाडौं । धनुषाको मिथिला नगरपालिका-७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा गएराति ठूलो आगलागी भएको छ।

रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताका अनुसार आगलागीबाट करिब १५ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन पूर्ण रूपमा जलेका छन्।

आगो नियन्त्रणमा लिन जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट आएका पाँचवटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली खटिएको थियो। उनीहरूको करिब दुई घण्टाको प्रयासपछि आगो निभाइएको हो।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले क्षतिको विस्तृत विवरण सङ्कलन गर्न अझै केही दिन लाग्ने बताए। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

 

आइपीएलमा मुम्बईको लगातार चौथो हार

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ मा पन्जाब किङ्सले आफ्नो अपराजित क्रम जारी राख्दै वानखेडे स्टेडियममा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ।

बिहीबार सम्पन्न खेलमा पन्जाबले १६.३ ओभरमै १९६ रनको लक्ष्य पार गर्दै सिजनको चौथो जित हात पारेको हो। यो जितसँगै पन्जाब ५ खेलमा ४ जित र १ नतिजाविहीन खेलसहित ९ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेटको क्षतिमा १९५ रन मात्र बनाउन सक्यो। क्विन्टन डिककले ६० बलमा ८ चौका र ७ छक्कासहित अविजित ११२ रनको शानदार शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। नमन धीरले ५० रन जोडे भने कप्तान हार्दिक पाण्ड्या १४ रनमा आउट भए। बाँकी खेलाडीहरू दोहोरो अंकमा पुग्न सकेनन्।

पन्जाबका लागि अर्शदीप सिंहले प्रभावशाली बलिङ गर्दै ४ ओभरमा २२ रन दिएर ३ विकेट हात पारे र ‘म्यान अफ द म्याच’ बने। मार्को जान्सन र शशांक सिंहले एक–एक विकेट लिए।

जवाफी ब्याटिङमा पन्जाबको सुरुवात उत्कृष्ट रह्यो। ओपनर प्रभसिमरन सिंहले ३९ बलमा ११ चौका र २ छक्कासहित अविजित ८० रनको पारी खेले। उनले कप्तान श्रेयस ऐय्यरसँग तेस्रो विकेटका लागि १३९ रनको मूल्यवान साझेदारी गरे। ऐय्यरले ३५ बलमा ५ चौका र ४ छक्कासहित ६६ रन जोडे। प्रियांस आर्या र कुपर कोनोली दुवै १५–१५ रनमा आउट भए भने मार्को जान्सन १० रनमा अविजित रहे।

मुम्बईका लागि एएम घजनफरले २ विकेट लिए भने शार्दुल ठाकुरले १ विकेट हात पारे। यो हारसँगै मुम्बईको सिजन अझ कमजोर बनेको छ। पहिलो खेलमा कोलकातालाई हराएपछि मुम्बईले त्यसयता दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलुरु र पन्जाबसँग लगातार पराजय भोग्दै ५ खेलमा १ जित र ४ हारसहित २ अंकमा झर्दै नवौं स्थानमा पुगेको छ।

पन्जाबले यसअघि गुजरात टाइटन्स, चेन्नई सुपर किङ्स, सनराइजर्स हैदरावाद र मुम्बईलाई पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो। कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रद्द भएको थियो।

आज (शुक्रबार) आइपीएलको २५औं खेलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा हुनेछ।

गाउँपालिकाका उपाध्यक्ष पक्राउ

काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथलाई प्रहरीले ज्यानसम्बन्धी मुद्दामा पक्राउ गरेको छ। उनीलाई जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

गत ९ वैशाखमा बेलडाँडी गाउँपालिका-३ कमरीका भैँसीपालक किसान हरकिशन राना बेलौरी नगरपालिका-१०, शिवनगरस्थित निर्मल आर्यघाट नजिकै मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए। घटनापछि रानाकी श्रीमतीले उपाध्यक्ष नाथविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

स्थानीयका अनुसार, प्रदेश सरकारले भैँसीपालक किसान समूहका लागि पठाएको अनुदान वितरणको विषयमा मृतक राना र उपाध्यक्ष नाथबीच विवाद चलेको थियो।

उक्त घटनाका दोषीलाई कारबाही गर्नुपर्ने माग उठ्दै आएको छ। यही विषयलाई उठाउँदै कञ्चनपुर-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद दीपक बोहराले केही दिनअघि संसदमा आवाज उठाएका थिए।

संसदीय समितिको निर्वाचन आज

काठमाडौं । प्रतिनिधिसभाका १० विषयगत समिति तथा २ संयुक्त समितिले आज सभापति चयन गर्न लागेको छन्। यसका लागि सम्बन्धित सबै समितिहरूको बैठकमा सभापति निर्वाचन कार्यसूची समावेश गरिएको छ।

बिहीबार नै संघीय संसद सचिवालयमा सबै समितिका सभापतिहरूका लागि मनोनयन दर्ता सम्पन्न भएको थियो।

कानून, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी र राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालले मनोनयन दर्ता गराएका छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका डा. ओजस्वी शेरचन र एमालेका गुरु बराल दुवैले दाबी प्रस्तुत गरेका छन्।
त्यस्तै, सार्वजनिक लेखा समितिमा कांग्रेसका भरत बहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्नीमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिमा रहवर अन्सारीको मनोनयन परेको छ।

संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।

राज्यका निर्देशकीय सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेकपा माओवादी केन्द्रतर्फबाट राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह (गरिमा) बीच प्रतिस्पर्धा हुनेछ।

सचिवालयका अनुसार, आजको बैठकमा दर्ता भएका मनोनयन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने र त्यसपछि सभापति निर्वाचनको घोषणा गरिनेछ।

यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौं। नेपालमा हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मौसम मिश्रित बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने-हट्ने क्रम जारी छ भने तराईमा चर्को घामसँगै तापक्रम बढ्न थालेको छ।

यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदलीको अवस्था रहेको छ। गण्डकी प्रदेशका केही पहाडी स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि तराईका अधिकांश स्थानमा मौसम सफा देखिएको छ।

मौसम विज्ञान विभागले शुक्रबारका लागि सार्वजनिक गरेको पूर्वानुमान अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ। यी क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ।

पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराई र भित्री मधेसमा गर्मी अझ बढ्ने संकेत देखिएको छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम वृद्धि भई तातो दिनको अवस्था सिर्जना हुन सक्ने भएकाले जनजीवन प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

१४ वर्षीया किशोरी हत्याको आरोपमा प्रख्यात गायक पक्राउ

काठमाडौं । अमेरिकी गायक तथा टिकटक स्टार डेभिड एन्थोनी बर्कलाई १४ वर्षीया एक किशोरीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ।

गत वर्ष बेपत्ता भएकी सेलेस्टे रिभास हर्नान्डेजको मृत्युमा संलग्नताको आशंकामा २१ वर्षीय बर्कलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो।

लस एन्जलस प्रहरीले जनाएको अनुसार, ती किशोरीको शवका अवशेष गत सेप्टेम्बरमा बर्ककै नाममा दर्ता गरिएको एक टेस्ला कारभित्र फेला परेको थियो। हलिउडस्थित ‘टो-यार्ड’ मा राखिएको कारबाट दुर्गन्ध आएपछि गरिएको तलासीमा, अगाडिको बुट क्षेत्रमा रहेको झोलाभित्र किशोरीको टाउको र शरीरका अन्य भाग भेटिएको अदालतको कागजातमा उल्लेख छ।

चिकित्सकहरूका अनुसार, शव अत्यन्तै सडेको अवस्थामा भेटिएको थियो, जसले उनी केही हप्ता अघि नै मारिएको अनुमान गर्न सकिन्छ। त्यसपछि, अनुसन्धान प्रभावित हुन नदिन एक न्यायाधीशले गत नोभेम्बरमा मृत्युसम्बन्धी सबै अभिलेख गोप्य राख्न निर्देशन दिएका थिए।

इजरायलसँगको युद्धविराम पालना गर्न हिज्बुल्लाहसँग ट्रम्पको अपिल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी लेबनानमा सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई इजरायलसँग भएको युद्धविरामको पालना गर्न आग्रह गरेका छन्।

ट्रम्पले ट्रुथ सोशलमार्फत यस्तो आग्रह सार्वजनिक गरेका हुन्।

उनले लेखेका छन्, ‘मलाई आशा छ कि हिजबुल्लाहले यस महत्वपूर्ण समयमा राम्रो र उचित व्यवहार गर्नेछ ।’

ट्रम्पले थप लेखेका छन्, ‘यदि उनीहरूले यसो गरे भने, यो उनीहरूका लागि ‘महान’ समय हुनेछ । अब कुनै हत्या हुनेछैन । अन्ततः शान्ति हुनुपर्छ।’

 

ब्रम्हाण्डको भुत्याहा कण : के हो न्यूट्रिनो ?

काठमाडौं।  ब्रह्माण्ड निरन्तर गतिशील छ,तपाईं यो क्षण स्थिर भएर बसे पनि तपाईंको शरीरभित्रबाट अर्बौं अदृश्य कणहरू निरन्तर पार भइरहेका छन्। ती कणहरू यति अत्यन्त सूक्ष्म र कमजोर अन्तरक्रियाशील हुन्छन् तिनीहरूले पदार्थसँग कुनै प्रतिक्रिया गर्दैनन्। र प्रकाशको गतिमा सम्पूर्ण पृथ्वीलाई समेत सहजै छेडेर अघि बढ्छन्,मानौँ पृथ्वी नै अस्तित्वमा छैन।। न तिनीहरूको आगमन महसुस हुन्छ, न कुनै प्रत्यक्ष संकेत देखिन्छ। त्यसैले यिनीहरूलाई घोस्ट पार्टिकल,भुत्याहा कण अर्थात् न्यूट्रिनो भनिन्छ। 

न्यूट्रिनोको जन्म मुख्यतया न्युक्लियर रियाक्सनबाट हुन्छ। पृथ्वीमा न्यूट्रिनोको प्रमुख स्रोत सूर्य हो, जसको गर्भमा हुने न्युक्लियर फ्युजनबाट अत्यधिक मात्रामा न्यूट्रिनोहरू उत्पन्न हुन्छन्। 

त्यसैगरी, कुनै तारा आफ्नो जीवनको अन्तिम चरणमा सुपरनोभाको रूपमा विस्फोट हुन्छ, त्यतिबेला विशाल मात्रामा न्यूट्रिनोहरू उत्सर्जित हुन्छन्। विशेष कुरा के हो भने यस्ता न्यूट्रिनोहरू प्रकाशभन्दा पहिले नै बाहिर निस्कन्छन्। यही कारणले खगोलशास्त्रीहरूलाई सुपरनोभाको अवलोकनका लागि आफ्नो टेलिस्कोप कुन दिशातिर तेर्स्याउने भन्ने कुरा पहिले नै अनुमान गर्न सहयोग हुन्छ।

न्यूट्रिनोहरू तीन प्रकारका ‘फ्लेभर’ मा पाइन्छन्। इलेक्ट्रोन, ‘म्युओन  र टाउ’ कणसँग सम्बन्धित रूपमा इलेक्ट्रोन न्यूट्रिनो, म्युओन न्यूट्रिनो र टाउ न्यूट्रिनो हुन्छन्। यी कणहरू आपसमा रूप परिवर्तन गर्न सक्ने स्वभावका हुन्छन्। त्यसैले सूर्यबाट निस्किएको इलेक्ट्रोन न्यूट्रिनो पृथ्वीमा आइपुग्दा म्युओन वा टाउ न्यूट्रिनोमा परिवर्तन हुन सक्छ।

न्यूट्रिनोहरू इलेक्ट्रिक चार्ज विहीन हुन्छन्, अर्थात् न धनात्मक न ऋणात्मक। यिनीहरू ब्रह्माण्डका आधारभूत बलहरूमध्ये कमजोर बल र गुरुत्वाकर्षणसँग मात्र अत्यन्त कमजोर रूपमा अन्तरक्रिया गर्छन्। तर यिनीहरूको पिण्ड अत्यन्तै न्यून भएकाले गुरुत्वाकर्षणको प्रभाव पनि नगण्य हुन्छ। यही कारणले प्रयोगशालामा न्यूट्रिनो पत्ता लगाउन अत्यन्त कठिन हुन्छ।

वैज्ञानिकहरूले न्यूट्रिनो अध्ययनका लागि विशाल पानीका ट्याङ्की प्रयोग गर्छन्। यस्ता ट्याङ्कीमा रहेका अणुहरूसँग कहिलेकाहीँ न्यूट्रिनोको अत्यन्त दुर्लभ अन्तरक्रिया हुँदा सूक्ष्म संकेत उत्पन्न हुन्छ, जसको आधारमा न्यूट्रिनोको उपस्थिति पत्ता लगाइन्छ।

न्यूट्रिनोहरू पृथ्वीमा कम ऊर्जा भएका न्यूट्रिनोहरू हाम्रो वरपरका प्राकृतिक स्रोत, जस्तै केरा जस्ता वस्तुबाट पनि उत्पन्न हुन सक्छन्। तर अत्यन्त उच्च ऊर्जा भएका न्यूट्रिनोहरू भने ब्ल्याक होल जस्ता शक्तिशाली खगोलीय स्रोत भएका ग्यालेक्सीहरूबाट उत्पन्न हुन्छन्। यस्ता उच्च ऊर्जा भएका न्यूट्रिनो पत्ता लगाउन अर्जेन्टिनाजस्तो विशाल क्षेत्रमा सयौँ डिटेक्टरहरू स्थापना गरिएको छ। संसारभरका वैज्ञानिक र खगोलशास्त्रीहरू मिलेर यस विषयमा अनुसन्धान गरिरहेका छन्।

न्यूट्रिनोको अस्तित्वको आधार पनि भौतिकशास्त्रका सिद्धान्तहरूबाट नै पुष्टि भएको हो। सन् १९३० को दशकमा जब स्वतन्त्र न्युट्रोन प्रोटोन र इलेक्ट्रोनमा विभाजित हुन्छ भन्ने प्रक्रिया अध्ययन गरियो, त्यसमा ऊर्जा र गति सम्बन्धी सिद्धान्तहरू पूर्ण रूपमा मेल खाँदैनथे। त्यसपछि वैज्ञानिकहरूले एउटा अत्यन्त सूक्ष्म कणको अस्तित्व हुनुपर्ने अनुमान गरे। पछि दशकौँको अनुसन्धानपछि न्यूट्रिनोको अस्तित्व पुष्टि भयो, जसका लागि सन् १९९५ मा नोबेल पुरस्कार पनि प्रदान गरिएको थियो।

यति सूक्ष्म र लगभग पदार्थसँग प्रतिक्रिया नै नगर्ने कणको ब्रह्माण्डमा के महत्व होला भन्ने प्रश्न उठ्न सक्छ। तर न्यूट्रिनो अत्यन्त महत्वपूर्ण कण हो। यसको भूमिका नहुने हो भने ग्रहहरूको निर्माण र जीवनको सम्भावना नै प्रभावित हुन सक्छ। सूर्यभित्र हुने न्युक्लियर फ्युजन प्रक्रियामा पनि यसको महत्वपूर्ण भूमिका हुन्छ।

त्यसैगरी, बिग ब्याङ्ग पछि उत्पन्न भएका प्रारम्भिक न्यूट्रिनोहरूको अध्ययनले ब्रह्माण्डको उत्पत्ति र विकासबारे महत्वपूर्ण जानकारी दिन सक्छ। तसर्थ:  न्यूट्रिनो आधुनिक भौतिकशास्त्रको अत्यन्त महत्वपूर्ण अनुसन्धान क्षेत्र बनेको छ।

हर्क साम्पाङको फेसबुक पेज गायब

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङको फेसबुक पेज गायब भएको छ।

करिब १४ लाख प्रयोगकर्ताले पछ्याउँदै आएको ‘हर्क साम्पाङ ए रिभोलुसन’ नामक फेसबुक पेज हटेको हो।

मन्त्री विराज भक्त श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रको संरचनात्मक सुधारका लागि ३२ बुँदे निर्देशन जारी गरेका छन्।

बिहीबार सार्वजनिक गरिएको उक्त कार्ययोजनामा क्षेत्रगत सुधार, पारदर्शिता अभिवृद्धि र नतिजामुखी कार्यसम्पादनमा जोड दिइएको छ। मन्त्री श्रेष्ठले सम्बन्धित निकायहरूलाई स्पष्ट जिम्मेवारी र समयसीमासहित निर्देशन दिँदै कार्यान्वयनमा कडाइ गरिने बताएका छन्। मन्त्रालयका अनुसार यी कार्यहरू नियमित अनुगमनमार्फत अघि बढाइनेछ।

मन्त्री श्रेष्ठले यो निर्देशन लामो तयारी र सरोकारवालासँगको छलफलपछि ल्याइएको भन्दै अबका नीति, योजना र कार्यक्रमको मार्गचित्र यही आधारमा तयार हुने स्पष्ट पारे। उनले तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन समेत दिएका छन्।

निर्देशनमा विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणसम्मका विषय समेटिएका छन्। विद्युत् क्षेत्र सुधारअन्तर्गत विद्युत् नियमन आयोगलाई ‘ओपन एक्सेस’ प्रणाली लागू गर्न ३० दिनभित्र ‘ह्विलिङ चार्ज’ निर्धारण गर्न भनिएको छ, जसले प्रतिस्पर्धात्मक विद्युत् कारोबारलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनामा मौसमी र पिक डिमान्डअनुसार फरक महसुल संरचना लागू गरिनेछ। नेपाल विद्युत् प्राधिकरणलाई हालसम्मका पीपीए विवादहरूको सूची र समाधानसहित प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ भने सञ्चालनमा रहेका, ढिलाइ भएका र जोखिमयुक्त आयोजनाको वर्गीकरण गर्न पनि भनिएको छ।

निजी क्षेत्रलाई आकर्षित गर्न जलाशययुक्त आयोजनाको अनुमतिपत्र अवधि ५० वर्ष बनाउने नीति ल्याइनेछ। साथै, सम्बन्धित निकायहरूलाई कार्यसम्पादन, जिम्मेवारीको दोहोरोपन र सुधारका क्षेत्र पहिचान गरी ३० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

विद्युत् विकास विभागलाई ६० दिनभित्र देशभरका जलविद्युत् आयोजनाको सर्वेक्षण तथा निर्माण अनुमतिपत्रको विस्तृत विवरण सार्वजनिक गर्न निर्देशन दिइएको छ। नियम उल्लंघन गर्ने कम्पनीलाई ‘क्योर नोटिस’ जारी गरिनेछ र समीक्षा नगरी नयाँ अनुमतिपत्र नदिने व्यवस्था गरिएको छ।

‘लाइसेन्स पर्फर्मेन्स ड्यासबोर्ड’ स्थापना गरी मासिक अद्यावधिक गर्ने तथा नयाँ आयोजना अघि बढाउँदा प्रसारण पूर्वाधार (ग्रीड इभ्याकुएसन) अनिवार्य शर्त बनाइएको छ।

आर्थिक पारदर्शितातर्फ जलविद्युत् रोयल्टी संकलन र वितरणको विवरण सार्वजनिक गरिनेछ। साथै ‘कार्बन रेभिन्यु युनिट’ स्थापना गरी कार्बन व्यापारसम्बन्धी परियोजनाको दर्ता, प्रमाणीकरण र लाभ बाँडफाँडको मापदण्ड तय गरिनेछ।

आन्तरिक विद्युत् खपत बढाउन राष्ट्रिय माग तथा खपत योजना तयार गरिनेछ भने नेपाल पावर ट्रेडिङ कम्पनीलाई सक्रिय बनाउँदै दीर्घकालीन विद्युत् निर्यात रणनीति बनाइनेछ।

प्रविधिको प्रयोग बढाउँदै २४सै घण्टा सञ्चालन हुने ‘एआई च्याटबोट’ मार्फत उपभोक्ता गुनासा व्यवस्थापन गरिनेछ। साथै ‘ग्रीन हाइड्रोजन’ पाइलट परियोजना अघि बढाइ अनुसन्धानलाई प्रोत्साहन गरिनेछ।

जलस्रोत व्यवस्थापनतर्फ नदी बेसिन गुरुयोजना, अन्तर्देशीय जलस्रोत इकाइ, जल तथा मौसम तथ्यांक प्रणाली विकास र भूमिगत जल अनुगमन कार्यक्रम सञ्चालन गरिनेछ, विशेषगरी तराई क्षेत्रमा डिजिटल निगरानी प्रणाली लागू गरिनेछ।

सिंचाइ क्षेत्रअन्तर्गत बबई, भेरी-बबई डाइभर्सन र सिक्टा जस्ता राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। महाकाली सिंचाइ आयोजनाका लागि भारतसँग कूटनीतिक पहल बढाइनेछ भने सुनकोशी–मरिन आयोजना पुनः ठेक्का प्रक्रियाबाट अघि बढाइनेछ।

साथै, सिंचाइ प्रणालीलाई दिगो बनाउन ‘इरिगेसन सर्भिस फी’ लागू गर्ने, कृषि-सिंचाइ-उद्योग एकीकृत योजना कार्यान्वयन गर्ने र तराई-मधेसका लागि खडेरी प्रतिरोधी रणनीति तयार गर्ने व्यवस्था गरिएको छ।

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री शाहको छलफल जारी (तस्वीरहरु)

काठमाडौं।  प्रधानमन्त्री बालेन शाहले बिहीबार मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूसँग  छलफल गरेका हुन्।

छलफलमा मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कर्णालीका मुख्यमन्त्री यामलाल कडेल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य सहभागी थिए।

प्रधानमन्त्री शाहले यसअघि सांसदहरूसँग प्रदेशगत रूपमा छलफल गरेर सम्बन्धित क्षेत्रका समस्या र समाधानका उपायबारे कुराकानी गरेका थिए।

तस्वीरहरु:

 

कार्यालयमा छड्के : ६३२ कर्मचारी कारबाहीमा

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले ६३२ जना कर्मचारीलाई कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरेको छ।

केन्द्रले विभिन्न कार्यालयमा छड्के अनुगमन गरी ती कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए। उनीहरूलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ अनुसार सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालयमा राखिने जनाइएको छ।

यसैगरी, ऐनमा दुई पटकसम्म चेतावनीमा परिसकेका कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था छ। कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको भट्टले बताए। केही कर्मचारीलाई कारबाही गरिएको जानकारी केन्द्रमा प्राप्त भइसकेको छ।

केन्द्रले सातै प्रदेशका जनसम्पर्क धेरै हुने जिल्लाका कार्यालयमा अनुगमन गरिरहेको जनाएको छ।

क्रोममा जेमिनाईका लागि ‘स्किल’ फिचर सार्वजनिक

काठमाडौं। गुगलले आफ्नो ब्राउजर गुगल क्रोममा जेमिनाई प्रयोगकर्ताका लागि ‘स्किल’ नामक नयाँ फिचर ल्याउन थालेको छ। डेस्कटप क्रोममा क्रमशः रोलआउट भइरहेको यो सुविधाले प्रयोगकर्तालाई बारम्बार प्रयोग हुने जेमिनाई प्रम्प्टहरू सेभ गरेर छिटो प्रयोग गर्न मद्दत गर्नेछ।

नयाँ फिचरमार्फत प्रयोगकर्ताले च्याट हिस्ट्रीबाटै मनपर्ने प्रम्प्टलाई ‘स्किल’ का रूपमा सेभ गर्न सक्नेछन्। सेभ गरिएका स्किल प्रयोग गर्न स्ल्यास (/) टाइप गर्न वा प्लस बटन क्लिक गरेर आवश्यक स्किल छनोट गर्न सकिने व्यवस्था गरिएको छ।

कम्पनीले केही पूर्वनिर्धारित प्रम्प्टहरू पनि उपलब्ध गराएको जनाएको छ। एकपटक सेभ गरिएका स्किलहरू प्रयोगकर्ताको गुगल खातामा साइन इन भएको कुनै पनि डेस्कटप क्रोममा प्रयोग गर्न सकिनेछ। हालका लागि यो सुविधा यूएस इङ्लिस ब्राउजर भाषा सेट गरेका प्रयोगकर्ताहरूमा मात्र उपलब्ध छ।

पछिल्ला महिनाहरूमा जेमिनाई एआई लाई क्रोममा विशेष प्राथमिकता दिँदै आएको गुगलले यसअघि नै जेमिनाई साइडबार पनि थपिसकेको छ। जसबाट नानो बनाना जेनेरेसन सुविधा प्रयोग गर्न सकिन्छ।

हालै गुगलले जेमिनाई इन क्रोमलाई क्यानडा, भारत र न्युजिल्यान्डका प्रयोगकर्तासम्म विस्तार गर्न थालेको छ। एआई प्रतिस्पर्धा तीव्र बन्दै जाँदा कम्पनीले आगामी दिनमा अझ धेरै एआई-आधारित सुविधा थप्ने अपेक्षा गरिएको छ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्दी विरुद्द विधार्थी संगठनको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं। विधार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यव‌ृद्दी विरुद्द प्रदर्शन गरेका छन्। 

१५ वटा विधार्थी संगठनहरुले आज विभिन्न प्लेकार्ड र नारासहित माइतीघरमा प्रदर्शन गरेका हुन्। 

तस्बिरहरु:

 

पेट्रोलियम कर खारेजको माग गर्दै माइतीघरमा विद्यार्थीको प्रदर्शन(तस्वीरहरु)

काठमाडौं। संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर खारेज गर्न, मूल्य समायोजन गर्न तथा जनताका लागि राहत प्याकेज घोषणा गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकारसँग तत्काल निर्णय लिएर जनजीवन सहज बनाउन आग्रह गरेका थिए।

उनीहरूले ‘बाँच्न दे सरकारका, मन्त्रीको सुनै सुन जनतालाई छैन खाने नुन’, ‘बालेन सरकार मूल्यवृद्धि उपहार’ लगायतका नारा लगाउँदै विरोध जनाएका थिए।

विद्यार्थी संगठनले बढ्दो मूल्यवृद्धिका कारण आम जनताको दैनिक जीवन प्रभावित भएको भन्दै सरकारलाई शीघ्र कदम चाल्न दबाब दिएका छन्।

तस्वीरहरु :

 

कीर्ते गर्ने तीन पक्राउ

दाङ। सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री–वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सल्यानको बागचौर नगरपालिका-२ बस्ने २० वर्षीय दीपक भण्डारी, १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार उनीहरूलाई शङ्कास्पद गतिविधिका आधारमा नियन्त्रणमा लिइएको हो।

वैशाख १ गते साँझ करिब ५ बजे तुलसीपुर उपमहानगरपालिका-५ माछापुच्छ्रे टोलस्थित थारमारे भण्डारी होटलमा शङ्कास्पद गतिविधि भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको थियो।

प्रहरी टोलीले उनीहरूका साथबाट विभिन्न सवारी दर्ता किताब र नक्कली छाप बरामद गरेको जनाएको छ। बरामद सामानमा बा.प्र.०२–०४६ प ३३३२ नम्बरको मोटरसाइकलको सवारी दर्ता किताब, यातायात व्यवस्था सेवा कार्यालय वीरेन्द्रनगर, सुर्खेतको ‘डिजिटल’ छाप, रा२प ३११५ नम्बरको सवारी दर्ता किताब तथा बाग्मती प्रदेश ०२-०४५ प १७३० नम्बरको यामाहा भि-३ मोटरसाइकल रहेका छन्।

प्रहरीले उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत घोराहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

चुरोट : केही झिलिमिली संस्मरण

एकातिर बैँसदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट, माझमा एक बुट्टा मोटरमार चुरोट,यी तीनै थोक अहिले अगाडि परे भने पहिले म कुनचाहिँ टिपुँला ? निद्राविहीन एक रात बाह्र-एक बजेतिर मेरो दिमागमा एउटा प्रश्न गुजुल्टियो । निकैबेर झ्यालको डँडाल्नीमा ट्वालट्वालती हेरेर तरङ्गिएपछि एक्लै खिसिक्क ओठ फुस्क्यो, कहाँ पालिसदार हीरा, कहाँ झुसिलकीरा ! जाबो दुईपैसे चुरोटको पनि कहीँ बैँसदार ओठ र गैँडामार नोटसँग तुलना हुन सक्छ ?

‘धत्, बहुला कहाँको !!’ मैले आफैँलाई हप्काएँ, तर हप्काउँदाहप्काउँदै मानौँ नाइटैदेखि तुलबुलीको एउटा कस्तो मुस्लो उठ्यो भने बसेको ठाउँमा बस्नै नसकी जुरुक्क उठेँ, भननन्न एक पटक कोठामा भौँतारिएँ । झुन्डिएजति कोट, पैन्ट, कमिज, बुससर्ट सबका खल्तीखल्ती छामेँ, एउटा टफी कताबाट अड्केको रहेछ क्वाप्प मुखमा हालेर मर्मरी चपाएँ । तैपनि तुलबुलीको रन्को छुटेन । अनि दराज, तखता, खोपा, मेच, बाकस, झ्याल, ढोका सबका अन्तरकुन्तरतिर हात घुसारेँ, अस्ति नै हरायो भनेको एउटा काँगियो पाइयो, ककसले खसालेर नभेट्टाएका दुई-तीनओटा दुईपैसे, चारपैसे र पाँचपैसे ढ्याक भेटिए । टेबुल र खाट सारेर मुन्तिरका घुरान केलाएँ-एउटा भाँच्चिएको होल्डर, दुई-चारओटा गोरखापत्र, समीक्षा र नयाँ समाजको पत्र, साँचो हराएको एउटा ताल्चा, दुइटा बेजोडा मोजा, एउटा कालो रिबन यस्तैयस्तै अर्थ न बर्थका सत्र थोक फेला परे, तर खोजेको जे हो सोचाहिँ हात लागेन ।

हैरान भएर एक गिलास पानी तन्न पिइदिएँ र तन्द्रङ्ग पल्टिएँ त्यही भताभुङ्ग ओछ्यानमाथि । प्रश्न फेरि दोहोरियो, ‘हँ, अहिले मलाई के चाहिएको त ?’ सुर्केस खोलेँ भने गैँडामार नोट कसो ननिस्केला, जे भए पनि महिनाको पहिलै साताको जागिरदार पो त ! बैँसदार मायालुकै कुरा गरुँ भने कमसेकम आफ्नी पर्मानेन्ट त तुरुन्तै एभाइलेबल । यी दुई थोक पाएर पनि यो तुलबुली किन, यो छटपटी किन ? किन भनूँ ? दानापानीको, सेक्सपानीको र अहंपानीको प्यासभन्दा बेग्लै (?) त्यस बेला मलाई सताएको थियो अर्कै प्यासले, माने, एक सर्को चुरोटको प्यासले । त्यसकारण ओठ न नोट, म धुइँधुइँती खोज्दै थिएँ चुरोटको एउटा ठुटै भए पनि कतै अलमलिएको छ कि भनेर ।

प्रत्येक वर्षझैँ, त्यो वर्ष पनि वैशाख १ गतेदेखि चुरोट छाड्ने माघ १ गतेदेखिकै संकल्प थियो । चुरोट खान छाड्नु आवश्यक मात्र होइन, मेरा निम्ति अनिवार्य पनि थियो । यो अनिवार्यता मैले नबुझेको होइन, बुझ्दाबुझ्दाबुझ्दा कति बुझिसकेको थिएँ भने प्रत्येक चुरोट सल्काउँदा ‘यही नै अन्तिम हो’ भनी आफ्नो तालिमी मनले संकल्प पढिसक्थ्यो । तर तलतलै न हो, मेरो संकल्प सारालाई तलतलै पुर्‍याएर आफू तेलझैँ मास्तिर तहरिहाल्थ्यो । अनि ‘तैतै आज एक दिनलाई भैगो, भोलिदेखि खाए के ?’ म दृढतासाथ संकल्प दोहोर्‍याउँथेँ । यसै गरी आज एक दिनबाट यो एक महिना, यो एक महिनाबाट यो बाँकी वर्ष हुँदाहुँदै चुरोट छोड्नलाई नयाँ वर्षको प्रारम्भ पर्खने लुत्रे र झुत्रे तालले कहिल्यै छाडेन ।

संकल्पशक्तिको यो हीनता जिन्दगीकै क्षीणता हो भनी म नबुझ्ने त होइन, तर बुझ्दैमा त्यो दह्रो भइहाल्ने पनि त होइन । चुरोट र क्यान्सरका सम्बन्धमा कति चर्चा सुनिए, पर्चा पढिए, तैपनि चुरोट छोड्न सकिँदैन । अजित भएर २०१९ साल चैत मसान्तको दिन बेलुका मैले आफ्नो लाइटर फोरफार पारी फ्याँकिदिएँ, आस्ट्रे किचकाच पारी मिल्काइदिएँ, बाँकी बचेका दुई-चार खिलीसहित बट्टा च्यातचुत पारी आफाल्दिएँ । ‘ए, लाइटर त नफालौँ’ भनी बराबर सलाई नपाएर भोगेका कतिपय संकटको सम्झना उनी दिँदै थिइन्, तर मैले भीष्मको आवाजमा सगर्व उडाइदिएँ, ‘अब पनि मैले चुरोट खाला भन्ने ठानेको कि ?’

१ गतेदेखि नखाएको ४ गते बेलुका यो दसा ! मलाई आफ्नो कमजोरीदेखि रिस, घृणा, ग्लानि सबथोक उठे, तर सबैभन्दा अग्लो भएर उठ्यो फेरि उही तलतल । हो, म साँच्चै तलतलाएँ, तर उपाय केही थिएन । गाउँको घर भएकोले पसल नजिक थिएन, आधा रातमा आधा कोस पर कसलाई उठाउन जाने ? बरु काकाकहाँ माग्न पठाऊँ, एउटा मसिनो आशा उदायो । तर यति जाबो कुरामा पनि आफ्नो दृढ प्रतिज्ञा अहिल्यै उनको अगाडि कसरी भंग गर्ने ? मेरो पौरुष अनकनायो ।

अम्बलले न पौरुष भन्छ, न प्रेस्टिज ! तत्कालै एउटा घटनाको सम्झना आयो । एकताका पोखराको एउटा गाउँले स्कूलमा म शिक्षक थिएँ । एक दिन यसै गरी चुरोट खान पाइएन । दिनभर पुग्ला भनियो, बेलुका त ठन्डाराम ! भोलिपल्ट तलतलले सबेरै तल ओरालिहाल्यो । आँगनमा आफू बसेको घरको हली हल्लँदै रहेछ । आफ्नो मास्टरी प्रेस्टिजलाई दाह्राले सकेसम्म थिचेर त्यही ग्वाङ्ग्रो खालको हलीसित मैले दीन पुकार गरेँ— ‘रामेदाइ, तिमीसित एउटा चुरोट छैन ?’ रामेले असजिलो मानेर भन्यो,‘चुरोट बनाउँदै छु, मास्टरसाहेब !’ नभन्दै ऊ बेलौती (अम्बा) का सुकेका पात टिपेर माड्दै रहेछ । म केटाकेटीहरुलाई पसल पठाउने धुनमा थिएँ, रामेले भुसा ल्याएर टक्रयायो । बूढी औँलाजत्रो कलात्मक चिलिममा अम्बाको पात माडेको धूलो हालेर निकालेको धूवाँ,न तमाखु, न कक्कड साँच्चै भुसाहा नै थियो त्यो ! ‘तानूँ त ?’ मैले लजाउँदै सोधेँ । ‘यति सानो चिलिम उचाल्न सक्नुहुन्न र तान्नै पर्‍यो, तान्नलाई डोरी पनि चाहिन्छ कि ?’ रामे हल्ल हाँस्यो, मैले सुइँसुइँ भुसाहा तानेँ । झ्यालबाट केटाकेटीले गिज्याए, ‘जात फाल्नु गहता’ झोलमा !’ तर के लाग्छ, क्याकक्याक गरेर पनि तलतलले मूतको न्यानो तापिछाड्यो । त्यसरी त लाज पचाइयो भने उनलाई उठाएर काकाकहाँ चुरोट माग्न पठाउन के गाह्रो ! तर काका पनि त चुरोटपीडित रहेछन् भने ? फेरि अर्को सम्झना आयो ।

एक दिन केटाकेटीमै काका (बलराम अर्याल) र म पढेर घर फर्कंदै थियौँ । तलबी हुँदा त तीन दिन भरी भए तेह्र दिन पन्चट रहने आफ्नो खल्तीको कुलाङ्गार बानी, त्यसबेला बिलकुल ढाक्रे विद्यार्थी । एकातिर बाबुबाजेको अघिल्तिर चुरोट नखाने हामी आदर्श छोरा, अर्कातिर एकान्तमा ठुटा बेरेर भए पनि मुख नधुवाँई नहुने हामी अम्बली मोरा ! अनि पैसा पनि सधैँ कहाँबाट पुगोस्, दुवै जना हरिकंगाल । टंगाल हुँदै कमलपोखरीबाट गौशालातिरको सडकमा लुखुरलुखुर हिँड्दै थियौँ । हुन त भोकले पनि कम सताएको थिएन, तर भोकभन्दा मापाको थियो उही तलतल ! रातो पुलनिर पुगेपछि तिनताकाका पुड्कापुड्का हाम्रा काकाले मायालाग्दो गरी प्वाक्क भन्नुभयो, ‘बाटामा राम्रोसित हेर्दै हिँड् है, त्यतिका पशुपतिभक्तहरु हिड्दा यो सडकमा एउटा दुईपैसे ढ्याक कसो नपाइएला !’ यो ठट्टा भइदिएको भए बरु त्यति हाँसो उठ्तैनृयो तर कुरो थियो मर्मान्तकै ! अहिले पनि त्यो बाटो हिँड्दा बुक वन र बिगिनर्स ट्रान्स्लेसनका किताप च्यापेर बाटामा ढ्याक पाइन्छ कि भन्दै हिँडेका पैसाविहीन काका,भतिजाका तलतलग्रस्त तुलबुले मुद्रा झलझली सम्झन्छु ।

चुरोट नपाउँदाका, सलाई नजुट्दाका, बाआमाले थाहा पाउलान् भन्ने डरले लुक्ता–लुकाउँदाका चाखलाग्दा काण्ड कति छन् कति;घरतिर, छात्रावासतिर, स्कूलकलेजतिर, अड्डाअफिसतिर अनि सबैतिर । जतिसुकै प्रेस्टिज र नैतिकता राख्नुपर्ने मान्छे छ भने पनि चुरोटमा उसको केही लाग्दैन । कहिलेकाहीँ चिन्दै नचिनेका मान्छेसित पनि एकोटा अप्ठ्यारो जनाउँदै चुरोट मागिएको छ, चुरोट नभएको बेलामा चिनेको मान्छे भेट भयो भने त ‘के खोज्छस् काना आखाँ’ भइहाल्छ । माग्नै किन पर्‍यो र ! आफ्नो रित्तो खल्ती छामछुम पार्‍यो, चुरोट खाने मित्र रहेछ भने यसले चुरोट खोज्यो भनी बुझिहाल्छ । यो त मामुली नै भयो, सुटुक्क भनिदिऊँ भने कहिलेकाहीँ मैले बाबुको खल्तीबाट चुरोट चोरेको पनि छु, कहिलेकाहीँ मेरो चुरोट चोरिएको पनि छ ।

यस्तै कुराहरु सोचेर आत्मग्लानि मेट्तै मैले उनलाई उठाएँ र भनेँ,‘म त चुरोट छोड्न नसक्ने भएँ बा ! के गर्ने ?’ आफूले गरेको भविष्यवाणी सत्य निस्कँदा उनी गर्वले गजक्क फुलेर नाक नेप्ट्याउन थालिन्, ‘मैले सक्नुहुन्न भनेकै थिएँ, अब यस बेला के गर्ने ? तमाखु खाने ?’ प्रस्ताव त गजबै हो, तर मध्यरातमा ट्वार्रट्वार्र हुक्का बजेको सुन्दा ख्याक आयो भनेर भाइबहिनीहरु कतै नझस्कून्, त्यो त छोडदिऔँ, बाले सुन्नुभयो भने, ‘चुरोटसुरोट खाँदैन भनेको छोरो त आधा रातमा हुक्का पो टुर्टुराउँदो रहेछ ए !’ त्यसो भए पानीसानी मिल्काएर स्वाइँस्वाइँ तान्ने त ! कुरो योचाहिँ लम्बरी ! अगरनो तलै भएकोले त्यो अकबरी तलतल मार्न तलै ओर्लिएर तमाखु हालियो । पानी रित्तिएको हुक्कामा नाली नहाली स्वाइँस्वाइँ-स्वाइँस्वाइँ एकनास शोषले झैँ तानेर मैले तमाखु सिद्ध्याउनै आँटेको थिएँ, आमाले आफ्नै कोठाबाट बोलाइदिनुभयो, ‘बाबु !’ तलैबाट आवाज दिऊँ, यस बेला तल किन ? ‘हजुर’ भन्नको लागि कोठामा पुगूँ, त्यति छिटो बिरालाचालले कसरी भर्‍याङ उक्लने ? आफूलाई फेरि रिङटा लागेर छुट्टी ! तर छोराबुहारी कसैबाट आवाज नआएकोले उहाँले फेरि दोहोर्‍याउनुभएन र मात्रै, नत्र प्रतिज्ञा तोडेको अपराधको फल तुरुन्तै फलेजस्तो हुन्थ्यो आफूलाई ।

चुरोट त खाँदैखान्न भन्दाभन्दै तमाखु र बिँडी दुई थोक नयाँ अम्मल समातिए । घरमा तमाखु, बाहिर बिँडी, कति सजिलो ! तैपनि चुरोट नै चाहिँ नखाएकोले जे भए पनि गर्वै थियो । तर एक साँझ सिनेमाको माध्यान्तरमा रोचकले झसङ्ग पार्दै भने, ‘ए चुरोट छाडेको होइन के ?’ नभन्दै म त मजासित गोल्डफ्लेक उडाउँदै पो रहेछु । रमेश विकलले कुन बेला चुरोट दिएछन्, आफूले सुइँक्याइएछ, कस्तो मजा बेहोसी !

आफू चुरोट नखाने मान्छे, त्यसै पनि हामीले खाएको मन पराउँदैनन्, झन् म त छाड्नै पर्ने र छोडिसकेको मान्छे, त्यसैले कति दिन अरुको अगाडि मैले चुरोट, बिँडी केही पनि खाँदै खाइनँ । एक दिन राति म एक जना साथीकहाँ थिएँ, मलाई आफ्नो कोठामा छोडेर उनी अर्कै घरतिर गइसकेपछि मैले लुसुक्क चुरोट सल्काउन खोजेको, सलाई पाइनँ । ताल्चा नमारेका ठाउँजति सबैतिर खानतलासी गर्दा पनि एक छेस्को सलाई पाइएन । आखिर कताकताबाट खाटमुनि एउटा थोत्रो फेला पार्न पुगेँ म । तार तानतुन पारी टुपिन जोडेको मात्र के थिएँ, बिजुली झ्याप्पै । अब भएन के ? चन्द्रावतीले भात खान लागेको जस्तो पो भयो आफूलाई । चुरोट खाने चाँजो मिल्दै मिलेन । तिनताका मेरो डेरा थियो बाँगेमोहडानिर, बाँगेमोहडानिर डेरा भए पनि म त मान्छे सोझै थिएँ । भोलिपल्ट बेलुकी नौ–दस बजेतिर अफिसको काम र होटेलको माम सकी कोठामा पस्ता त आस्ट्रे, लाइटरसहित एक बट्टा क्याप्टेन सिरानमा सजिइराखेको ! छक्कै परेर सूचना पढेँ, ‘हिजो सलाई नपाएर जिल्लिएको बुझिएकोले सबथोक हाजिर छ, भोलि सबेरै एउटा हास्यव्याङ्ग्यलेख प्रेसमा हाजिर गराउनू !’ यो थियो रचनाका लहडकान्त सम्पादकज्यूको आदेश ।

हुन त महाकवि देवकोटाको चुरोटखुवाइ सम्झँदा हाम्रो चुरोटखुवाइ के हो र, प्रशस्त खाएको दिन सालाखाला दुई बट्टा खाइएला, त्यसमा पनि म त सिंहमारदेखि बिरालोमारसम्म जे पनि सरासर चल्ने क्लासविहीन भलादमी । तैपनि बढ्दै थियो, आफ्नो स्थिति हेरी । त्यसैले छोड्नै नसके पनि घटाउने प्रयत्नमा मैले बट्टाको सट्टा खुद्रा खरिदको नीति लिएँ । तर आफूले नलिँदैमा खान घट्छ भन्ने आशा पनि बेकार ! बरु आफूले चुरोट तानिरहेको बखत मान्नुपर्ने मान्छेले ‘खोइ, एउटा यता पनि’ भनिदिए भने उल्टो आफैँले हिन्नेत्याइँ अनुभव गर्नुपर्छ । कवि सिद्धिचरणज्यू र रामराजज्यूसित कसोकसो प्रायः यस्तै परेको छ धेरै पटक । आफूलाई खान छ, अरुले माग्दा छैन, छैन, चुरोट पनि छैन, सलाई पनि छैन साथमा, कहिल्यै पनि । चुरोट छोड्नै सकेको पनि होइन कहिल्यै पनि-कस्तो दरिद्र चाल !

त्यसैले एक दिन मैले अरु विभिन्न प्रतिज्ञाहरुको साथ ‘चुरोट खानु र मान्छे पोलेको धूवाँ खानु बराबर’ हो भनी किरिया खाएर कागत लेखेँ, सही गरेँ, हुक्काले अलमल्याउला भनी त्यो पनि फोरिदिएँ र सान्त भएर ती दिन गाउँमै काटेँ तर पनि केही लागेन । मैले तीन-चार वर्ष मासु छोडेँ, कति दिन नुन छोडेँ, कति लामालामा अवधिसम्म आफ्ना अति प्रिय वस्तु र प्रियतमहरु छाडेँ, तर एक साता पनि धूम्रपानलाई बिल्कुलै छाड्न सकिनँ । मेरो यो चुरोट समस्यामा सबै साथीहरुको सहानुभूति उब्जन्छ र अफिसमा एकछिन चुपो लागेको देख्दा हाम्रा केदारज्यू सोध्छन्, ‘दाजुको ट्रान्जिस्टरलाई ब्याट्री चाहिएको जस्तो छ नि !’ हो, निकोटिनको क्यान्सर हुन्छ, तर सेलाएका बखत स्नायविक तारहरु तताउन निकोटिनको निकै आवश्यकता पर्दो रहेछ क्यारे हामीलाई ।

साँच्ची नै शिथिलतामा सुर्तीले ग्लुकोजको काम दिई फुर्ती निकालिदिन्छ भने सुर्तीका क्षणको सबभन्दा ठूलो संगाती पनि सुर्तीको धूवाँसिवाय केही छैन । यी दुवै कुरा मैले आफ्नो एक महिनाजतिको दिल्लीप्रवासको बखत राम्रैसित अनुभव गरेको छु । त्यहाँ पनि मैले चुरोट छोडेँ, पपाँच मिनेटमा एउटाएउटा ट्याप लगाएको बात नलागोस् नत्र बाबुराम पौड्याल साक्षी छन्, मैले प्रत्येक दिन चुरोट छाडेँ, प्रत्येक रात चुरोट छाडेँ । त्यसै बेलादेखि मार्क ट्वेनको यो भनाइ साह्रै घतलाग्दो गरी म सम्झन्छु, ‘चुरोट छोड्नु कुनै गाह्रो काम होइन, मैले एक सातामा कैयौँ पटक चुरोट छोडिसकेँ ।’

त, व्यापारीले बातैपिच्छे धरोधर्म भन्नु र मैले सासैपिच्छे चुरोट खान्नँ भन्नु एकै भयो । तैपनि जमुनाको किनारमा बसेर अर्को संकल्प गरेँ,‘अब गंगाजीको किनारमा उभिएर पानी छुँदै किरिया हालौँला ।’ तर बनारसमा पुगेपछि भेट्नेबित्तिकै चारमिनारका बट्टा तेर्स्याउँदै शिव भट्टराईज्यूले भने, ‘विश्वनाथ बाबाको नगरमा सके गाँजाकै चिलिमले स्वागत गर्नुपर्थ्यो !’ म पनि पशुपतिनाथ बाबाकै प्रजा हुँ नि ! चारमिनारको कुहिरीमण्डलमा हाम्रो ठट्टाध्याय गुरु वाक्क भएर घरबार राजीनामा गर्ने त्यागी, महात्यगीले त चुरोट छोड्नुको सट्टा गाँजासमेत उडाउन थाल्छन् भने मैले चुरोट किन छाड्ने ? स्वास्थ्यको निम्ति भनूँ भने अब चुरोट छोडेर स्वास्थ्य सुधार्छु भन्नु बुढी वेश्याले आर्यघाट नुहाएर जीवन पवित्र पार्छु भनेजस्तै त हो नि ! यस्ता कुरा सोच्तासोच्तै पनि काठमाडौँ पुगेर चुरोट छाड्ने धोको ठ्याम्मै बिसाएको त थिइनँ । तर शुभसाइतमा चाहिँ कहिल्यै परेको होइन ।

चुरोट छाड्ने अर्को प्रयास मैले पोहोर रावलपिण्डीमा पनि गरेँ । त्यस बेला साथी हुनुहुन्थ्यो, रुपरेखाका सम्पादक बालमुकुन्ददेव पाण्डे र मदरल्याण्डका सम्पादक मणीन्द्रज्यू । काठमाडौँ-त्रिशूली सडकजस्तै (ठीक उस्तै र उत्रै) एउटा पहाडी यात्रामा उहाँहरुले मलाई धेरै सम्झाउनुभयो, तर मैले पो चुरोट छाड्नुपर्छ भन्ने कुरो बिर्सेको कहाँ थिएँ र ! मोटरैबाट चुरोटको बट्टा मिल्काएर भनेँ, ‘लौ त लौ, म चुरोट खान्नँ ।’ तर साँझ एउटा पार्टीमा भने उनीहरुको आँखा छलेर पनि चुरोट तानिछाडेँ ।

म कहिलेकाहीँ त्यसै पनि व्रत बसिदिन्छु । साथीहरु भन्छन्, ‘खाना पनि छाड्न सक्छ कस्तो मान्छे यो !’ फेरि जब चुरोट सल्काउन थाल्छु उनीहरु दोहोर्‍याउँछन्, ‘जाबो चुरोट पनि छाड्न सक्तैन कस्तो मान्छे यो !’ अब म यस्तै मान्छे ! के गर्ने ? चुरोट त म खान्नँ भन्दै छु, तर चुरोटले चोरेर भए पनि मलाई खाइहाल्छ । हो, सल्य भन्छु,मलाई चुरोटदेखि डर लाग्छ, घृणा लाग्छ तर म आत्मसमर्पित हुँदै आएको छु, यही छुसी चुरोटसँग । यो क्रम कतिसम्म चल्ने हो, म हजुरले कति पटक चुरोट छाड्ने हुँ त्यो त भन्न सक्तिनँ, तर फेरि नयाँ वर्ष लाग्दै छ, म चुरोट छोड्दै छु, योचाहिँ पक्का हो ।

नोट :भैरव अर्यालका निबन्ध संग्रहबाट साभार गरिएको 

आर्सनल र बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडाैं। आर्सनल र बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो लेगमा आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङ लिसबनलाई गोलरहित बराबरमिा रोक्दै सेमिफाइनलमा पुगेको हो ।

आर्सनल पहिलो लेगमा जितेको १-० गोलको समग्र स्कोरमा विजयी भयो । सेमिफाइनलमा आर्सनलले एट्लेटिको मड्रिडसँग खेल्नेछ ।

यस्तै बायर्न म्युनिखले रियल म्याड्रिडलाई ४-३ गोलले हरायो । बायर्न समग्रमा ६-४ गोलले विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

सेमिफाइनलमा बायर्नले साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग प्रतिस्पर्धा गर्नेछ ।

सबै सूचक घटेपछि नेप्से रोकियो २८३३ अंकमा

काठमाडौं । बिहीबार सेयर बजारका सबै प्रमुख सूचक घटेका छन्। यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३३.८३ अंक (१.१८ प्रतिशत) ले घटेर २८३३ अंकमा कायम भएको छ। अघिल्लो कारोबार दिन भने नेप्से ३३.२७ अंकले बढेको थियो।

कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन १० अर्ब ५३ करोड रुपैयाँको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोड रुपैयाँमा सीमित भयो। कुल ३१ कम्पनीको मूल्य बढ्दा २३६ कम्पनीको मूल्य घट्यो भने ३ कम्पनी स्थिर रहे।

सबै समूहका सूचकहरू पनि घटेका छन्। सबैभन्दा धेरै गिरावट फाइनान्स समूहमा देखियो, जुन १.९८ प्रतिशतले घट्यो।

अन्य समूहहरूमा बैंकिङ ०.८० प्रतिशत, विकास बैंक १.१५ प्रतिशत, होटल तथा पर्यटन ०.५० प्रतिशत, हाइड्रोपावर १.५१ प्रतिशत, लगानी १.२७ प्रतिशत, जीवन बीमा ०.९० प्रतिशत, उत्पादन तथा प्रशोधन १.५४ प्रतिशत, माइक्रोफाइनान्स ०.७१ प्रतिशत, निर्जीवन बीमा १.२८ प्रतिशत, अन्य १.९० प्रतिशत तथा व्यापार १.०१ प्रतिशतले घटेका छन्।

यस दिन पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर रहेका छन्।

सबैभन्दा धेरै घट्नेमा सिन्धु विकास बैंक ९.४७ प्रतिशतले रहेको छ। त्यस्तै भूगोल इनर्जी ७.७९ प्रतिशत, भुजुङ हाइड्रोपावर ७.३९ प्रतिशत र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ४.६५ प्रतिशतले घटेका छन्।

सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, सोलु हाइड्रोपावर र रिडी पावर रहेका छन्।

‘महाराज’ पोशाकको विवाद चर्किएपछि,मनोज गजुरेलले मागे माफी

काठमाडौं। ‘महाराज’ पात्रको पोशाकलाई लिएर विवाद चर्किएपछि कलाकार मनोज गजुरेल ले सार्वजनिक रूपमा माफी मागेका छन्।

‘कमेडी दरबार ३’ को पत्रकार सम्मेलनका क्रममा प्रयोग गरिएको उक्त पोशाकप्रति विभिन्न कोणबाट आलोचना भएपछि उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले आफ्नो भनाइमा कार्यक्रमको उद्देश्य कसैको मानमर्दन गर्ने वा भावनामा चोट पुर्‍याउने नभएको स्पष्ट पारेका छन्। कार्यक्रमको विषयअनुसार काल्पनिक पात्रका रूपमा प्रस्तुति दिइएको भए पनि सार्वजनिक संवेदनशीलताको विषयमा कमी–कमजोरी भएको स्वीकार गर्दै उनले क्षमायाचना गरेका हुन्।

पोशाक र प्रस्तुतीकरणलाई लिएर विशेषगरी राजसंस्था समर्थक तथा परम्परागत मूल्यप्रति आस्था राख्ने समूहबाट तीव्र आलोचना भएको थियो। सामाजिक सञ्जालमा समेत उनको चर्को विरोध भएको देखिएको थियो।

गजुरेलले आगामी दिनमा सांस्कृतिक गरिमा, ऐतिहासिक धरोहर तथा राष्ट्रिय संवेदनशीलतासँग सम्बन्धित विषयमा हास्यव्यङ्ग्य गर्दा अझ जिम्मेवार र सचेत हुने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, समाजलाई जोड्ने समावेशी र सन्तुलित कला प्रस्तुतिलाई प्राथमिकता दिने बताएका छन्।

किप्याड मोबाइलले खोल्यो गोलीकाण्डको यस्तो रहस्य ?

प्यूठान । चैत २९ गते प्यूठानमा भएको गोलीकाण्डमा घटनास्थलमा फेला परेको एउटा साधारण किप्याड मोबाइलले अभियुक्तको पहिचान खुल्न सहयोग गरेको प्रहरीले जनाएको छ।

पुरानो डिजाइनको उक्त मोबाइल गौमुखी गाउँपालिका-४ सुंगुरखालस्थित चुपाल सामुदायिक वनमा गोली चलेको स्थानमा भेटिएको थियो।

त्यो रात करिब ११ बजे भरूवा बन्दुकबाट भएको गोली प्रहारमा नौंबहनी गाउँपालिका-४ का १९ वर्षीय सुशील परियारको मृत्यु भएको थियो। गोली उनको टाउको र काँधको पछाडि भागमा लागेको थियो।

सोही घटनामा १८ वर्षीया किशोरी घाइते भएकी छन् र उनको उपचार लुम्बिनी सिटी अस्पताल, बुटवलमा भइरहेको छ।

प्यूठानका प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारीका अनुसार घटनास्थलमा भेटिएको मोबाइलमा लगातार कल आइरहेको थियो। सोही आधारमा अनुसन्धान अघि बढाइएको थियो।

फोन विवरण ट्रेस गर्दा मोबाइल गौमुखी गाउँपालिका-४ खलाबाङका २७ वर्षीय विक्रम केसीको भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरीसँगको सोधपुछमा केसीले शिकार खेल्न जंगल गएको र झाडी हल्लिएको आवाज सुनेपछि जंगली बँदेल ठानेर गोली चलाएको स्वीकार गरेका छन्।

उनले गोली लागेपछि डराएर भाग्दा मोबाइल घटनास्थलमै छुटेको बयान दिएका छन्।

प्रहरीले घटनामा प्रयोग भएको भरूवा बन्दुकसहित थप एक थान पुरानो नाले बन्दुक पनि बरामद गरेको छ। घटनामा संलग्न अन्य तीन जनालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

मृतकका परिवारले ज्यानसम्बन्धी कसुरमा उजुरी दिएपछि चारै जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

होर्मुज जलमार्ग पुनः सञ्चालनमा चीनको आग्रह

काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी विदेशमन्त्री अब्बास अराघचीलाई होर्मुज जलमार्गमा सामान्य आवागमन पुनः स्थापना गर्न आग्रह गरेका छन्।

वाङ यीले उक्त जलमार्गमा इरानको सार्वभौमसत्ता र सुरक्षाको सम्मान हुनुपर्ने उल्लेख गर्दै, साथै त्यहाँबाट हुने समुद्री आवागमनको स्वतन्त्रता र सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। उनले यो मार्ग सबै देशको हितसँग जोडिएको भएकाले खुला रहनु आवश्यक रहेको बताए।

चीनले युद्धविराम कायम राख्ने र कूटनीतिक वार्ता पुनः सुरु गर्ने पक्षमा समर्थन जनाएको पनि वाङ यीले बताएका छन्।

यसअघि डोनाल्ड ट्रम्प ले सामाजिक सञ्जालमार्फत होर्मुज जलमार्ग सधैँका लागि खोलिने दाबी गरेका थिए। उनले यो कदम चीनलगायत सबै देशको हितमा रहेको बताएका थिए।

होर्मुज जलमार्ग विश्वकै अत्यन्त महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो, जसबाट विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने अनुमान गरिन्छ।

विश्लेषकहरूका अनुसार यो मार्ग अवरुद्ध भए ऊर्जा आपूर्ति शृङ्खला प्रभावित हुने र अन्तर्राष्ट्रिय बजारमा तेल तथा ग्यासको मूल्यमा तीव्र उतारचढाव आउन सक्ने सम्भावना रहन्छ।

हजुरबाउको सम्पत्ति अंशबण्डा हुन बाँकी रहेको गृहमन्त्री गुरुङको दाबी(भिडियो)

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएका छन् । सङ्घीय संसद् सचिवालयको परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो सम्पत्तिका बारेमा आएका समाचारको खण्डन गरेका हुन् ।

‘अंशबण्डा नभएकाे कुरा कसरी हुन्छ त, हाम्रो अहिले अंशबण्डा भएको छैन’, उनले भने, ‘जे हाे त्यही भन्नुपर्याे नि! ढाट्ने?’

गृहमन्त्री गुरुङले हाल सार्वजनिक भएको विवरणमा उल्लेखित सम्पत्ति आफ्नो हजुरबुवाको पालाको भएको र अहिलेसम्म अंशबण्डा नभएकाले सोहीअनुसार देखिन आएको स्पष्ट पारे । उनले पैतृक सम्पत्तिको विषयलाई लिएर अनावश्यक भ्रम सिर्जना नगर्न सञ्चारजगत् र सर्वसाधारणमा अनुरोध समेत गरेका छन् ।

अविभाजित अवस्थामा रहेको पारिवारिक सम्पत्तिलाई नै कानुनी प्रक्रियाअनुसार विवरणमा समावेश गरिएको उल्लेख गर्दै उनले तथ्यहीन विषयमा विवाद नगर्न आग्रह गरे । सार्वजनिक जवाफदेहीको पदमा रहेकाले आफू पारदर्शिताप्रति प्रतिबद्ध रहेको भन्दै गृहमन्त्रीले यस्ता विषयमा सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीको ध्यानाकर्षण गराएका हुन्।

भिडियाे:

१८ बिचौलिया पक्राउ

काठमाडौं । मालपोत कार्यालयमा सक्रिय १८ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

मालपोत कार्यालय कलंकी, चाबहिल र कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले सेवाग्राहीलाई छिटो काम गराइदिने भन्दै हैरानी दिने र रकम असुल्ने गरेका थिए।

 

रास्वपाका मन्त्री र सांसदले पार्टीलाई कति पैसा तिर्नुपर्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदहरूका लागि लेबी निर्धारण गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी सम्बन्धी प्रस्ताव पारित गरेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार सांसदहरूले मासिक १६ हजार ५ सय रुपैयाँ र मन्त्रीहरूले १८ हजार रुपैयाँ लेबी तिर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, स्वकीय सचिवका लागि २ हजार रुपैयाँ लेबी तोकिएको छ। यो व्यवस्था हाल मन्त्रीका स्वकीय सचिवहरूका हकमा लागू हुनेछ।

सांसदहरूले भविष्यमा स्वकीय सचिव राख्ने व्यवस्था भएमा उनीहरूका लागि पनि यही दरमा लेबी लागू हुने बुर्लाकोटीले बताए। त्यस अवस्थामा सांसदका स्वकीयहरूले पनि मासिक २ हजार रुपैयाँ पार्टीलाई तिर्नुपर्ने व्यवस्था रहनेछ।