`

काभा महिला भलिबल च्याम्पियनसिपमा भारतको लगातार दोस्रो जित

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपमा भारतले लगातार दोस्रो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार सम्पन्न समूह ‘ए’ को खेलमा भारतले माल्दिभ्सलाई सोझो सेटमा २५–९, २५–१४ र २५–१७ ले पराजित गरेको हो ।

यसअघि पहिलो खेलमा भारतले घरेलु टोली नेपाललाई ३–२ को सेटमा हराएको थियो । माल्दिभ्स भने लगातार दोस्रो खेलमा पराजित भएको छ । दुई खेलबाट ५ अंक जोड्दै भारत समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

भारतले आफ्नो समूह चरणको अन्तिम खेल सोमबार किर्गीस्तान विरुद्ध खेल्नेछ । उता, पहिलो खेलमा पराजित नेपालले आज आफ्नो दोस्रो खेलमा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालका लागि सेमिफाइनल यात्रा कायम राख्न यो खेल अत्यन्त महत्वपूर्ण मानिएको छ, जसमा जित अनिवार्य हुनेछ ।

शनिबारै सम्पन्न अर्को खेलमा समूह ‘ए’ अन्तर्गत कजाकस्तानले श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

काभा महिला भलिबल च्याम्पियनसिपका खेलहरू हिमालय स्पोर्ट्स टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ ।

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

मकवानपुर । हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशाबाट आइरहेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जन गम्भीर घाइते भएका थिए ।

घाइते योञ्जनलाई उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पताल लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन् ।

दुर्घटनापछि बस र बस चालक काभ्रेको चौंरीदेउराली गाउँपालिका–२ निवासी ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘लालीबजार’ ले गर्यो पाँच करोड भन्दा बढी ग्रस कलेक्सन

काठमाडौँ।तेस्रो सातासम्म प्रदर्शनमा रहेको नेपाली फिल्म लालीबजार प्रति दर्शकको आकर्षण अझै कायम रहेको छ । शनिबार पनि देशभरका अधिकांश हलहरूमा फिल्म हेर्ने दर्शकको उल्लेख्य भीड देखिएको छ भने केही शोहरू हाउसफुल भइसकेका छन् ।

षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको फिल्म हेर्न परिवारसहित दर्शक हलसम्म पुगिरहेको अभिनेता रविन्द्र सिंह बानियाले बताएका छन् । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पुगेर दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिँदै आएका उनले फिल्मको कथा, मनोरञ्जन र सामाजिक सन्देश दर्शकले मन पराएको बताए ।

उनका अनुसार अभिनेत्री स्वस्तिमा खड्का सहितको टिमले आज काठमाडौँ उपत्यकाका विभिन्न हलहरूमा पुगेर दर्शकलाई सरप्राइज दिने कार्यक्रम रहेको छ ।

निर्देशक यम थापाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले दुई सातामै ५ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको निर्माण पक्षले जनाएको छ । निर्माण टिमले यो विकेन्डसम्म फिल्मले ६ करोड रुपैयाँको आँकडा पार गर्ने अपेक्षा गरेको छ ।

फिल्मको कथावस्तु, निर्देशन र कलाकारहरूको अभिनयको दर्शकले खुलेर प्रशंसा गरिरहेका छन् । विशेषगरी आमाको संघर्षलाई केन्द्रमा राखिएको भावनात्मक कथाले धेरै दर्शकलाई भावुक बनाएको प्रतिक्रिया प्राप्त भइरहेको छ ।

दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त भइरहेका कारण आगामी दिनमा पनि फिल्मको व्यापार अझ बलियो हुने अनुमान गरिएको छ । फिल्मको ट्रेलर युट्युबको मुभी चार्टमा नम्बर १ मा ट्रेन्डिङमा रहेको छ । सार्वजनिक भएको एक महिनापछि पनि ट्रेलरले २२ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टललगायत कलाकारहरूको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनय क्षेत्रमा डेब्यु गरेका छन् । विशाल थिएटर पृष्ठभूमिबाट आएका कलाकार हुन् भने प्रशंसा ‘जेनजी’ पुस्ताकी अभिनेत्रीका रूपमा चर्चित छिन् ।

फिल्मको पटकथा तथा संवाद निर्देशक यम थापा र प्रदिप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्ममा प्रदीप भट्टराई कार्यकारी निर्माता रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।

इथानोल उत्पादनमा जोड दिऔँ : उधोगमन्त्री यादव

बारा। उधोगमन्त्री गौरीकुमारी यादवले बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको मधेस प्रदेश प्रादेशिक कार्यालयको निरीक्षण गरेकी छन् ।

निरीक्षणका क्रममा निगमका निमित्त निर्देशक नागेन्द्र शाहसहितको टोलीले मन्त्री यादवलाई निगमको वर्तमान अवस्था, इन्धन भण्डारण क्षमता तथा आपूर्ति व्यवस्थाबारे जानकारी गराएको थियो ।

मन्त्री यादवले पेट्रोलियम पदार्थको आयात घटाउन इथानोल उत्पादनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइन् । उनले इथानोललाई वैकल्पिक ऊर्जा स्रोतका रूपमा विकास गर्न निजी क्षेत्रलाई पनि उत्पादनमा सक्रिय हुन आग्रह गरिन् ।

अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको अवस्थामा गरिएको निरीक्षणका क्रममा मन्त्री यादवले मूल्यवृद्धिको प्रभाव कम गर्न दीर्घकालीन तथा वैकल्पिक उपायहरू अपनाउनुपर्नेमा जोड दिइन् ।

क्याबिनेट विस्तारले फेरि चर्चामा विजय

एजेन्सी। तमिलनाडुको राजनीतिमा नयाँ मोड ल्याउँदै एमके स्टालिन नेतृत्वको डीएमके सरकारलाई हटाएर सत्तामा आएको टीवीके पार्टी फेरि चर्चामा आएको छ ।

मुख्यमन्त्री बनेपछि जोसेफ विजय लगातार राजनीतिक तथा सामाजिक बहसको केन्द्रमा रहँदै आएका छन् । पछिल्लो समय उनको मन्त्रिपरिषद् विस्तारले विशेष ध्यान आकर्षित गरेको छ, विशेषगरी अनुसूचित जाति (दलित) समुदायका मन्त्रीहरूको उल्लेख्य सहभागिताका कारण ।

यो मन्त्रिपरिषद् तमिलनाडुको इतिहासकै सबैभन्दा ठूलो क्याबिनेटमध्ये एक मानिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यो विस्तार विजय नेतृत्वको सरकारप्रति बढ्दो जनसमर्थनको संकेतका रूपमा हेरिएको छ । साथै, सबैभन्दा बढी अनुसूचित जातिका मन्त्रीहरू समावेश गरिएको कारण पनि यो मन्त्रिपरिषद्ले नयाँ कीर्तिमान बनाएको बताइएको छ ।

विजयको मन्त्रिपरिषद्मा अनुसूचित जातिका ८ जना विधायकलाई मन्त्री बनाइएको छ । सामाजिक समावेशीकरण र सन्तुलित प्रतिनिधित्वलाई प्राथमिकता दिँदै सरकारले २३ जना नयाँ मन्त्रीहरूलाई समेटेको हो ।

विश्लेषकहरूका अनुसार अघिल्लो मन्त्रिपरिषद्को तुलनामा यसपटक जातीय सन्तुलन, क्षेत्रीय प्रतिनिधित्व, सहयोगी दलहरूको सहभागिता तथा युवा नेताहरूलाई अवसर दिने प्रयास स्पष्ट रूपमा देखिएको छ ।

हाल मुख्यमन्त्री विजयसहित मन्त्रिपरिषद् सदस्यहरूको कुल संख्या ३५ पुगेको छ ।

गोंगबुबाट ४५ राउन्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौं। काठमाडौंको गोंगबुबाट प्रहरीले एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा तथा सोही स्थानका स्थायी बासिन्दा भई हाल काठमाडौं–३२ नरेफाँट बस्दै आएका २२ वर्षीय ओमशंकर गुप्ता रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार टोखा नगरपालिका–९ गोंगबुस्थित शिव मन्दिर नजिक रहेको काबेली गेष्ट हाउसमा प्रहरीले गरेको जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले उनीहरूको साथबाट एसएलआर हतियारमा प्रयोग हुने एक थान म्याग्जिन, ४५ राउन्ड गोली तथा एक थान मेटल नक बरामद गरेको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

रेडियो सगरमाथाको ३० औँ स्थापना दिवस भव्यताका साथ सम्पन्न

दक्षिण एशियाको पहिलो स्वतन्त्र सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा १०२.४ मेगाहर्जले आज आफ्नो स्थापनाको ३० औं वार्षिकोत्सव मनाएको छ ।

२९ वर्ष पूरा गरी ३० औँ वर्ष प्रवेश गरेको अवसरमा सगरमाथाले आफ्नो भनिमण्डलस्थित कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्व नघटेको दाबी गरेका छन् ।

बाहिर प्रचारमा आए जस्तो सामुदायिक रेडियोको महत्व नघटेको बताउँदै उनले यस्ता रेडियो प्रविधिमैत्री हुँदै जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए । मन्त्री  तिमल्सिनाले मुलुकका आमनागरिक तथा बुद्धिजीवीका कारण रेडियोको महत्व अहिले पनि नघटेकाले मर्यादित र उत्तरदायी पत्रकारिता आजको अवश्यकता रहेकोमा जोड दिए।

उनले नैतिक पत्रकारिता र जिम्मेवारीपूर्ण सञ्चारका लागि रेडियो सगरमाथा थप प्रविधिमैत्री हुँदै महत्वपूर्ण भूमिका निर्वाह गरोस् भनी शुभकाना व्यक्त गरे।

रेडियो सगरमाथाका सञ्चालक समितिका अध्यक्ष डा घमराज लुइँटेलले रेडियो सगरमाथा स्वतन्त्र सञ्चारमाध्यम तथा अभिव्यक्ति स्वतन्त्रताको इतिहास भएको बताउँदै स्वतन्त्र र सामुदायिक भावनालाई उजागर गर्ने रेडियोलाई सरकारले अनुदान दिएर सहयोग गर्नुपर्नेमा जोड दिए। उनले अहिलेकाृे परिवेशमा रेडियो सगरमाथालाई धान्न कठिन भइरहेको यथार्थ औल्याए।

रेडियो सगरमाथाका स्टेसन म्यानेजन उर्वशी बस्नेतले सामुदायिक उत्तरदायित्वलाई केन्द्रमा राखेर तीन दशकदेखि निरन्तर काम गर्दै आएको जानकारी गराउँदै लोकतन्त्र, समृद्धि र सामुदायिक उत्तरदायित्वको यात्रामा जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गरे । उनले मिथ्या सूचना विरुद्ध सामुदायिक रेडियोको अभियान निरन्तर जारी राख्नुपर्ने बताए ।

दक्षिण एसियाको पहिलो स्वतन्त्र प्रसारण सेवाका रूपमा रेडियो सगरमाथाको सुभारम्भ विसं २०५४ जेठ ९ गतेदेखि सञ्चालन भएको थियो । वार्षिक उत्सवका अवसरमा सगरमाथाले रेडियो संचालनमा विशेष सहयोग गर्ने दाता, शुभेच्छुक संस्था तथा ब्यक्तिहरुलाई सम्मान गरेको छ ।

लेन्सले जित्यो फ्रेन्चकपको उपाधी

काठमाडौं ।फ्रेन्च कपको उपाधि लेन्सले पहिलो पटक आफ्नो नाममा लेखाएको छ । शुक्रबार राति भएको फाइनलमा निसलाई ३–१ ले पराजित गर्दै लेन्सले क्लब इतिहासमै ऐतिहासिक सफलता हात पारेको हो ।

स्टेड डे फ्रान्समा सम्पन्न खेलमा लेन्सका लागि फ्लोरिन थउभिन चम्किए । उनले एक गोल गर्नुका साथै अर्को गोलको अवसर सिर्जना गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले ।

यस सिजन लेन्सले घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । फ्रान्सेली लिग वानमा पनि उसले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई कडा चुनौती दिएको थियो । लिग तालिकामा दोस्रो स्थान हासिल गरेको लेन्स अर्को सिजनको युरोपियन च्याम्पियन्स लिगका लागि समेत छनोट भइसकेको छ ।

यसअघि तीन पटक फ्रेन्च कपको फाइनल पुगे पनि उपाधिबाट वञ्चित हुँदै आएको लेन्सले अन्ततः लामो प्रतीक्षा समाप्त गरेको हो । सन् १९९८ मा लिग वान जितेपछि यो क्लबको सबैभन्दा ठूलो उपलब्धिका रूपमा हेरिएको छ ।

जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा नयाँ एमजी हेक्टर सार्वजनिक(तस्वीरहरु)

काठमाडौं । जी.ओ. अटोमोबाइल्स प्रालि, एमजी मोटर इन्डियाको आधिकारिक आयातकर्ता तथा वितरकले नेपाली बजारमा नयाँ एमजी हेक्टर औपचारिक रूपमा सार्वजनिक गरेको छ।

काठमाडौंको थापाथलीस्थित एमजी शोरुममा आयोजित विशेष कार्यक्रममा नयाँ एसयूभीको बिक्री–वितरण पनि औपचारिक रूपमा सुरु गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार एमजी हेक्टरको प्रारम्भिक मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

हालै मात्र एमजी विन्डसर र एमजी कमेट सार्वजनिक गरी बजारमा राम्रो प्रतिक्रिया पाएको कम्पनीले नयाँ हेक्टरमार्फत एसयूभी सेग्मेन्टमा आफ्नो उपस्थिति अझ बलियो बनाउने लक्ष्य राखेको छ।

कम्पनीले नयाँ एमजी हेक्टर आधुनिक डिजाइन, उन्नत प्रविधि र सुरक्षित ड्राइभिङ अनुभवसहित नेपाली ग्राहकलाई आकर्षित गर्ने विश्वास व्यक्त गरेको छ।

 

सूर्यविनायक-धुलिखेल ६ लेन सडक विस्तार ढिलो, यात्रु र स्थानीयले भोग्दै सास्ती(तस्वीरहरु)

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल १६ किलोमिटर सडक विस्तार आयोजना तीन वर्षअघि सुरु भए पनि अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। ६ लेनमा विस्तार गर्ने लक्ष्यसहित सुरु गरिएको यो आयोजना अझै जारी रहँदा दैनिक यात्रु, स्थानीय बासिन्दा र व्यवसायीले धुलो, हिलो र लामो जामको समस्या भोगिरहेका छन्।

भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक खण्डलाई सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई प्याकेजमा निर्माण भइरहेको छ। आयोजनाका अनुसार हालसम्म समग्र भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ, जुन केही महिनाअघि ६७ प्रतिशत र त्यसअघि करिब ५० प्रतिशत मात्र थियो।

सडक विस्तारअन्तर्गत मुख्य सडक, सर्भिस लेन, नाला, पुल, कल्भर्ट तथा अण्डरपास निर्माणको काम भइरहेको छ। विशेषगरी साँगा क्षेत्रमा निर्माणाधीन अण्डरपासलाई आयोजनाको महत्वपूर्ण संरचना मानिएको छ, जसले पूर्वी नाकाबाट काठमाडौं प्रवेश गर्ने सवारी चाप व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

तर निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि, वर्षायामको प्रभाव, साथै विद्युत् पोल र खानेपानी पाइप सार्ने कार्यमा ढिलाइ जस्ता कारणले आयोजना प्रभावित हुँदै आएको छ।

हाल सूर्यविनायक, जगाती, ठिमी, नलिञ्चोक, साँगा र बनेपा आसपासका क्षेत्रमा कालोपत्रे, ढल तथा सर्भिस लेन निर्माण भइरहेको छ। केही स्थानमा कालोपत्रे सम्पन्न भए पनि धेरै ठाउँमा सडक भत्किएको अवस्थामा रहेकाले यात्रुहरूले कठिनाइ भोगिरहेका छन्।

सडक विस्तार पूरा भएपछि काठमाडौं उपत्यका र पूर्वी नेपालबीचको यातायात सहज हुने अपेक्षा गरिएको छ। तर हालको सुस्त प्रगति र व्यवस्थापकीय चुनौतीका कारण सर्वसाधारणले अझै केही समय सास्ती भोग्नुपर्ने देखिन्छ।

मधेसमा बढ्दै कुपोषणको समस्या

जनकपुर। मधेस प्रदेशमा कुपोषण, रक्तअल्पता तथा मातृ–शिशु स्वास्थ्य सूचकहरू अत्यन्तै चिन्ताजनक अवस्थामा पुगेका छन्। कुल प्रजनन दर २.७ रहेको प्रदेशमा २३.४ प्रतिशत जन्म स्वास्थ्य संस्थाबाहिर हुने गरेका छन् भने ७६.६ प्रतिशत मात्र संस्थागत प्रसूति हुने गरेको देखिन्छ।

मातृ मृत्युदर पनि उच्च छ। देशभर प्रतिलाख जीवित जन्ममा १५१ महिलाको मृत्यु हुनेमा मधेसमा यो दर १४० रहेको तथ्यांकले देखाएको छ।

पाँच वर्षमुनिका बालबालिकामा कुपोषण व्यापक छ। प्रदेशमा २ लाख ७ हजारभन्दा बढी बालबालिका पुड्कोपनको समस्याबाट प्रभावित छन्, जुन देशमै सबैभन्दा बढी हो। ख्याउटेपनका साथै अधिक तौलको समस्या पनि देखिएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ६ देखि ५९ महिनाका बालबालिकामध्ये ५०.६ प्रतिशतमा रक्तअल्पता छ भने १५ देखि ४९ वर्षका ५२ प्रतिशत महिलामा पनि यही समस्या देखिएको छ।

विशेषज्ञहरूका अनुसार अव्यवस्थित खानपान, जनचेतनाको कमी, सीमित पोषण कार्यक्रम तथा कमजोर कार्यान्वयनले समस्या बढाएको हो।

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म कुपोषण घटाउने लक्ष्य भए पनि वर्तमान अवस्था चुनौतीपूर्ण देखिएको छ। स्वास्थ्य, कृषि, शिक्षा र स्थानीय तहबीच समन्वय कमजोर रहेको सरोकारवालाहरूको भनाइ छ।

पोषणविद्हरूले स्तनपान अभ्यास, विविध आहार र सचेतना अभावलाई प्रमुख कारणका रूपमा औंल्याएका छन्। मधेसमा पूरक आहार, स्तनपान र बाल पोषण अभ्यास कमजोर रहेको तथ्य पनि सार्वजनिक भएको छ।

सरकार र सरोकारवालाहरूले दीर्घकालीन नीति, समन्वय र प्रभावकारी कार्यक्रममार्फत मात्र समस्या समाधान सम्भव हुने बताएका छन्।

रास्वपाको बैठकबाट लखेटिए रास्वपाका सांसदहरु(भिडिओ)

बारा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा भएको विवादले तनावको रूप लिँदा केही प्रतिनिधिसभा सदस्यहरू बैठक स्थलबाट लखेटिएका छन्।

आज कलैयामा आयोजित उक्त बैठकमा बारा जिल्लाका प्रतिनिधिसभा सदस्यहरू रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह सहभागी भएका थिए। सहभागीहरूका अनुसार उनीहरूले संस्थापक पक्षमाथि दबाब सिर्जना गर्ने प्रयास गरेपछि बैठकमा विवाद उत्पन्न भएको हो।

विवाद क्रमशः चर्किँदै जाँदा आक्रोशित कार्यकर्ताले ती सांसदहरूलाई धक्का दिँदै बैठक स्थलबाट बाहिर निकालेका थिए। स्थिति झन् तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको बताइएको छ।

यस घटनाले रास्वपा बारा जिल्लाभित्रको आन्तरिक विवादलाई अझ गहिरो बनाएको देखिन्छ। केही दिनअघि मात्र संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज भएपछि जिल्लामा असन्तुष्टि र विवाद बढ्दै गएको थियो।

घटनापछि स्थानीय राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ भने पार्टीभित्रको आन्तरिक समन्वय र नेतृत्व विवाद पुनः सतहमा आएको देखिएको छ।

उपल्लो डोल्पामा फोरजी सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार समुद्री सतहदेखि करिब ४ हजार २०० मिटर उचाइमा रहेको मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियो प्रविधिमार्फत सेवा सुरु गरिएको हो।

यससँगै देशभर फोरजी सेवा पुगेका स्थानीय तहको संख्या ७५० पुगेको छ। माथिल्लो डोल्पामा फोरजी सेवा विस्तार गरिएको यो पहिलो साइट हो।

हाल डोल्पाको डोल्पो बुद्ध गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा भने फोरजी सेवा पुग्न बाँकी छ। नेपाल टेलिकमले निकट भविष्यमा ती क्षेत्रमा पनि सेवा विस्तार गर्ने जनाएको छ।

फोरजी सेवा विस्तारसँगै स्थानीय बासिन्दा, पदयात्री र पर्यटकहरूको सञ्चार पहुँच सहज हुने, साथै प्रशासनिक, सुरक्षा, स्वास्थ्य र शैक्षिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। दुर्गम हिमाली क्षेत्रलाई डिजिटल नेटवर्कसँग जोड्दै समग्र क्षेत्रीय विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।

‘राष्ट्रको सञ्चार’का रूपमा रहेको नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म आधुनिक दूरसञ्चार तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने आफ्नो प्रतिबद्धता निरन्तर अघि बढाइरहेको जनाएको छ।

पछिल्लो १० महिनामा नेपालले गर्यो १७ करोडको चिज आयात

काठमाडौँ । नेपालमा दुग्धजन्य पदार्थमा आत्मनिर्भर रहेको दाबी गरिए पनि चिजको आयात भने बढ्दो क्रममा देखिएको छ। पछिल्लो १० महिनामा मात्रै साढे १७ करोड रुपैयाँ बराबरको चिज आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाखसम्मको अवधिमा नेपालले कुल १७ करोड ५३ लाख ४१ हजार रुपैयाँ बराबरको चिज आयात गरेको छ। सोही अवधिमा २ लाख ६ हजार ९ सय १७ किलो चिज भित्रिएको छ भने यसबाट सरकारले ५ करोड १९ लाख ३३ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ।

नेपालमा आयात हुने चिजमध्ये सबैभन्दा ठूलो हिस्सा भारतको रहेको छ। १० महिनामा भारतबाट मात्रै १२ करोड ५८ लाख ५५ हजार रुपैयाँ बराबरको १ लाख ५९ हजार १६६ किलो चिज आयात भएको छ। भारतबाट मुख्यतः कोरेको, धुलो र अन्य सामान्य प्रकारका चिज बढी आयात हुने गरेको देखिन्छ।

युरोपेली मुलुक फ्रान्सबाट भने महँगो तथा प्रशोधित चिज बढी मात्रामा आयात हुने गरेको छ। फ्रान्सबाट २ करोड १७ लाख १५ हजार रुपैयाँ बराबरको २० हजार ४०० किलो चिज भित्रिएको छ, जसबाट सरकारले ६५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

इटालीबाट ६ हजार २५४ किलो चिज आयात हुँदा १ करोड ३२ लाख ५६ हजार रुपैयाँ बाहिरिएको छ। यसको औसत मूल्य प्रति किलो २,१०० रुपैयाँभन्दा बढी पर्न जान्छ।

यस्तै, चीनबाट ३३ लाख ४ हजार रुपैयाँ बराबरको १३ हजार ८८८ किलो चिज आयात भएको छ भने अस्ट्रेलियाबाट २२ लाख ४० हजार रुपैयाँको ५७८ किलो चिज भित्रिएको छ।

अन्य देशहरूतर्फ जर्मनीबाट २० लाख ९१ हजार, नेदरल्यान्ड्सबाट १६ लाख १७ हजार र डेनमार्कबाट ३ लाख ६८ हजार रुपैयाँ बराबरको चिज आयात भएको छ। युएई, कतार र अमेरिकाबाट पनि सानो परिमाणमा चिज आयात भएको भन्सार तथ्यांकमा उल्लेख छ।

ऐश्वर्या राय बच्चन कान्सको रेड कार्पेटमा

काठमाडौँ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा देखिने विषय हरेक वर्ष चर्चामा रहने गर्दछ। यस वर्ष पनि उनी अन्ततः कान्समा सहभागी भएकी छन्।

यसअघि बलिउडबाट आलिया भट्ट, हुमा कुरैशी र डायना पेन्टीलगायत अभिनेत्रीहरूले पनि आफ्नो उपस्थिति जनाइसकेका थिए।

ऐश्वर्या नीलो रंगको आकर्षक गाउनमा रेड कार्पेटमा देखिएकी हुन्। विशेष डिजाइन गरिएको उक्त गाउनको तह र बनावटका कारण उनी जलपरीजस्तै देखिएकी थिइन्। गाउनसँगै उनले लामो दुपट्टा पनि प्रयोग गरेकी थिइन्, जुन दुवै हातमा बेरिएको अवस्थामा जमिनसम्म झरेको देखिन्थ्यो। उक्त गाउन डिजाइनर मोहित रायले तयार गरेका हुन्।

ऐश्वर्या राय बच्चन सन् २००२ देखि कान्स फिल्म फेस्टिभलमा नियमित सहभागी हुँदै आएकी छन्। हरेक वर्ष उनी आफ्नो अनौठो शैली र आकर्षक पहिरनका कारण चर्चामा रहँदै आएकी छन्। यस पटक भने उनी केही ढिलो गरी महोत्सवमा पुगेकी हुन्।

फ्रान्सको कान्स सहरमा भइरहेको यो महोत्सवमा विश्वभरका चलचित्रकर्मी तथा कलाकारहरूको सहभागिता रहँदै आएको छ। महोत्सवको समापन आज हुँदैछ।

कान्स फिल्म फेस्टिभलमा पुगेर फर्केपछि सुनिता डंगोल, ‘काठमाडौँमा पनि हुन्छ’(भिडियाे)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको सहभागिता र प्राप्त सफलतालाई नेपालको सिर्जनशील क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।

फ्रान्समा आयोजित फेस्टिभलमा सहभागी भएर स्वदेश फर्किएपछि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भ्रमण र त्यसक्रममा भएका उपलब्धिबारे जानकारी दिएकी हुन्।

डंगोलले सिर्जनशील क्षेत्रलाई दीर्घकालीन रूपमा संस्थागत गर्न काठमाडौँ महानगरपालिकाले आवश्यक नीति तथा कार्यविधि निर्माणको तयारी गरिरहेको बताइन्। साथै, कान्सका मेयरले आयोजना गरेको विशेष स्वागत तथा डिनर कार्यक्रममा सहभागी हुने क्रममा काठमाडौँ फिल्म फेस्टिभलका लागि प्राविधिक सहयोग र सहकार्यका विषयमा पनि छलफल भएको उनले उल्लेख गरिन्।

यस वर्षको कान्स फिल्म फेस्टिभल नेपाली चलचित्र क्षेत्रका लागि विशेष रहेको भन्दै उनले ‘अन सर्टेन रिगार्ड’ विधामा पहिलो पटक नेपाली फिल्म छनोट हुनु गर्वको विषय भएको बताइन्। निर्देशक अविनाशविक्रम शाहको टिमद्वारा निर्माण गरिएको उक्त फिल्मले सोही विधामा जुरी प्राइज जित्न सफल भएकोमा उनले बधाई पनि दिइन्।

डंगोलले भनिन्, “सिर्जनशील क्षेत्रलाई केवल ‘वान टाइम प्रोग्राम’ नभई संस्थागत स्वरूप दिन हामी नीतिगत छलफलमा अघि बढिरहेका छौँ। भ्रमणका क्रममा विभिन्न सहरका प्रतिनिधिसँगको भेटमा काठमाडौँ महानगरले पहिलो पटक आयोजना गर्न लागेको ‘काठमाडौँ फिल्म फेस्टिभल’बारे जानकारी गराउँदा उहाँहरू उत्साहित हुनुभयो। फिल्म प्रदर्शनपछि दर्शकहरूले करिब ७–८ मिनेटसम्म उभिएर सम्मान गर्नु हाम्रो लागि अत्यन्तै भावुक र गर्वको क्षण थियो।”

उनले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नेपालको मौलिक पहिचान झल्कने ‘हाकु पटासी’ र परम्परागत गरगहना लगाएर सहभागी हुनु पनि सांस्कृतिक रूपमा महत्वपूर्ण रहेको बताइन्।

महानगरपालिकाले आगामी फिल्म फेस्टिभललाई सफल बनाउन विशेष टोली परिचालन गरेको छ। सम्पदा तथा पर्यटन समिति, सूचना प्रविधि विभाग र प्रशासन विभागको समन्वयमा तयारी भइरहेको महानगरले जनाएको छ।

फेस्टिभललाई काठमाडौँको संस्कृति र सहरको समग्र इकोसिस्टमसँग जोड्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताइएको छ। डंगोलले यो भ्रमणले काठमाडौँलाई ‘क्रिएटिभ सिटी’ का रूपमा विश्वमाझ स्थापित गर्न तथा अन्य अन्तर्राष्ट्रिय सहरहरूसँग सहकार्य विस्तार गर्न मद्दत पुगेको विश्वास व्यक्त गरिन्।

इंग्ल्यान्डले घोषणा गर्यो २६ सदसीय विश्वकप टोली

काठमाडौँ । इंग्ल्याण्डले आगामी फिफा विश्वकपका लागि २६ सदस्यीय टोली सार्वजनिक गरेको छ। प्रशिक्षक थोमस टुचेलले यसै महिनाको अन्त्यमा सुरु हुने विश्वकपका लागि अन्तिम टोली घोषणा गरेका हुन्।

टोलीमा स्ट्राइकर इभान टोनी र ओली वाटकिन्सलाई समावेश गरिएको छ। टोनीले यस सिजन साउदी प्रो लिग क्लब अल-अहलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै टोलीमा स्थान बनाएका हुन्। अल-अहलीले एएफसी च्याम्पियन्स लिग एलिट जित्दा उनले महत्वपूर्ण भूमिका खेलेका थिए। यस्तै, वाटकिन्सले एस्टन भिल्लाका लागि प्रभावशाली प्रदर्शन गर्दै टोलीमा पर्न सफल भएका हुन्। एस्टन भिल्लाले हालै युईएफए युरोपा लिग उपाधि जित्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने अवसर समेत सुरक्षित गरेको छ।

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर कोबी माइन्उ पनि टोलीमा परेका छन्। उनले सिजनको अन्त्यतिर अन्तरिम प्रशिक्षक माइकल क्यारिकको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गरेका थिए। तर अनुभवी डिफेन्डर ह्यारी म्याग्वायर भने अन्तिम टोलीमा अटाउन सकेनन्।

चेल्सीका कोल पाल्मर, जसले फिफा क्लब विश्वकप २०२५ जिताउन योगदान दिएका थिए र युरो २०२४ को फाइनलमा स्पेनविरुद्ध गोल गरेका थिए, चोटका कारण प्रभावित सिजनपछि टोली बाहिर परेका छन्। म्यानचेस्टर सिटीका फिल फोडेन र रियल म्याड्रिडका राइट–ब्याक ट्रेन्ट अलेक्जेन्डर–अर्नोल्ड पनि अन्तिम टोलीमा स्थान बनाउन असफल भए।

टुचेलले छनोट चरणमा शतप्रतिशत जित दिलाएका अधिकांश खेलाडीलाई निरन्तरता दिएका छन्। कप्तान ह्यारी केनको नेतृत्वमा इंग्ल्याण्डले १९६६ पछि पहिलो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ।

इंग्ल्याण्डको २६ सदस्यीय टोली-

गोलरक्षक: डिन हेन्डरसन, जोर्डन पिकफोर्ड, जेम्स ट्राफर्ड
डिफेन्डर: ड्यान बर्न, मार्क गुएही, रिस जेम्स, एज्री कोन्सा, टिनो लिभ्रामेन्टो, निको ओ’राइली, जारेल क्वान्सा, जेड स्पेन्स, जोन स्टोन्स
मिडफिल्डर: एलियट एन्डरसन, जुड बेलिङ्घम, एबेरेची एजे, जोर्डन हेन्डरसन, कोबी माइन्उ, डेक्लान राइस, मोर्गन रोजर्स
फर्वार्ड: एन्थोनी गोर्डन, ह्यारी केन, नोनी मडुके, मार्कस रासफोर्ड, बुकायो साका, इभान टोनी, ओली वाटकिन्स

एमाले सचिवालय बैठक सुरु(तस्वीरहरु)

काठमाडौँ।नेकपा एमालेको सचिवालय बैठक गुन्डुमा सुरु भएको छ।

शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आजको बैठकमा आफ्ना धारणा राख्नेछन्। शनिबारको बैठकमा उपमहासचिवहरू योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टसहित ९ जना सचिवहरूले आफ्नो मत प्रस्तुत गर्ने कार्यक्रम छ।

शुक्रबारको बैठकमा पाँच उपाध्यक्षमध्ये चार जनाले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिई पार्टी पुनर्गठनमा सहयोग गर्न सुझाव दिएका थिए।

पदाधिकारीहरूको धारणा सकिएपछि बैठक कार्यविभाजन, निर्वाचन परिणाम समीक्षा तथा कार्यदल गठनजस्ता एजेन्डामा प्रवेश गर्नेछ।

फेरि बढ्यो डिजेल-पेट्रोलको मूल्य

काठमाडौं। भारतमा पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ८७ पैसा बढेर ९९ रुपैयाँ ५१ पैसा पुगेको छ भने डिजेलको मूल्य ९१ पैसा बढ्दै ९२ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

पछिल्ला नौ दिनभित्र भारतमा इन्धनको मूल्य तेस्रो पटक बढाइएको हो । लगातार भइरहेको मूल्यवृद्धिले भारतको बजारसँगै नेपालमा पनि प्रत्यक्ष प्रभाव पार्ने संकेत देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै जानु मूल्यवृद्धिको मुख्य कारण मानिएको छ । इरान–अमेरिका तनाव, पश्चिम एसियामा बढ्दो अस्थिरता तथा आपूर्ति प्रणालीमा देखिएको दबाबका कारण विश्व बजारमा तेलको भाउ उकालो लागिरहेको बताइएको छ ।

भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको नेपालमा पनि अब इन्धनको मूल्य पुनः समायोजन हुन सक्ने अनुमान गरिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाउने नयाँ खरिद मूल्यका आधारमा नेपाल आयल निगमले प्रत्येक १५ दिनमा इन्धनको मूल्य पुनरावलोकन गर्दै आएको छ ।

कोइला खानी विष्फोट हुँदा ८२ जनाको मृत्यु

चीन।  चीनको एक कोइला खानीमा भएको भीषण ग्यास विष्फोटमा परी ठूलो जनधनको क्षति भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा कम्तीमा ८२ जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार शुक्रबार साँझ ७ः२९ बजे शान्सी प्रान्तस्थित तोंगझोउ ग्रुपद्वारा सञ्चालित कोइला खानीमा विष्फोट भएको थियो । घटनाका बेला खानीभित्र २४७ जना मजदुर कार्यरत रहेका बताइएको छ ।

सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार ग्यास विष्फोटका कारण भएको दुर्घटनापछि घटनास्थलमा उद्धार तथा खोजी कार्य तीव्र रूपमा जारी छ । केही मजदुर अझै सम्पर्कविहीन रहेको आशंका गरिएको छ ।

दुर्घटनापछि चीनका राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचार भइरहेको र बेपत्ता मजदुरहरूको खोजी कार्य जारी रहेको बताएका छन् । उनले घटनाको विस्तृत अनुसन्धान गर्न निर्देशन दिँदै दुर्घटनाका लागि जिम्मेवार व्यक्ति तथा निकायलाई कानुनी दायरामा ल्याइने बताएका छन् ।

को बन्ला रास्वपा सभापति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्ने भएको छ । २०७९ असार ७ गते स्थापना भएको पार्टीले चार वर्षपछि पहिलोपटक महाधिवेशन गर्न लागेको हो । महाधिवेशन नजिकिँदै जाँदा पार्टीको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ ।

स्थापनाकालदेखि सभापतिको जिम्मेवारी सम्हाल्दै आएका रवि लामिछाने पुनः नेतृत्वमा दोहोरिने कि २०८२ पुस १३ गते सातबुँदे सहमतिसहित पार्टी प्रवेश गरेका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वमा आउने भन्ने विषय चर्चामा छ ।

सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले तथा तत्कालीन उपसभापति एवं हालका सभामुख डीपी अर्यालसहितको सहमतिमार्फत पार्टीमा प्रवेश गरेका शाहलाई नेतृत्वमा ल्याउनुपर्ने माग पार्टीभित्र उठिरहेको छ । अर्कोतर्फ, छोटो समयमै लामिछानेको नेतृत्वमा पार्टी देशकै पहिलो शक्ति बनेको भन्दै उनलाई पुनः सभापति बनाउनुपर्ने धारणा राख्ने नेताहरू पनि छन् ।

पार्टी नेताहरू, सभापति लामिछाने र वरिष्ठ नेता शाहनिकट स्रोतका अनुसार अहिलेको अवस्थामा लामिछाने पुनः सभापतिमा निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् । वरिष्ठ नेता शाहले भने हालसम्म सभापतिमा दाबी प्रस्तुत गरेका छैनन् । यद्यपि उनले परिस्थितिलाई नजिकबाट नियालिरहेको हुनसक्ने शाहनिकट एक नेताले बताए ।

पार्टीभित्र सर्वसम्मत नेतृत्व चयनको सम्भावना रहेको दाबी पनि गरिएको छ । केही नेताहरूका अनुसार सर्वसम्मतिबाट नेतृत्व चयन भएमा लामिछाने नै सभापति बन्ने लगभग निश्चित छ । लामिछाने पक्षका नेताहरूले यस्तो दाबी गरिरहँदा शाह पक्ष भने सार्वजनिक रूपमा मौन देखिएको छ । उनीहरू महाधिवेशनसम्म अझै समय बाँकी रहेकाले अन्तिम निर्णय त्यही बेला हुने बताउँछन् ।

पार्टीका शीर्ष नेताहरूले भने महाधिवेशनपछि बन्ने केन्द्रीय कमिटी र सचिवालयमा पार्टीसँग जोडिएका सबै समूहको प्रतिनिधित्व सुनिश्चित गरिने बताएका छन् । वालेन्द्र शाह निकट समूह, विवेकशील साझा पार्टी, खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टी, जेन-जी अभियन्ता तथा नागरिक उन्मुक्ति पार्टीबाट आएका नेताहरूलाई समेत समेटेर नयाँ नेतृत्व संरचना बनाइने दाबी गरिएको छ ।

महामन्त्री भूपदेव शाहको नेतृत्वमा समायोजन समिति गठन गरिएको छ । सहमहामन्त्री विपिन आचार्यका अनुसार पार्टीमा आबद्ध सबै समूहको भावना, इतिहास, योगदान र वर्तमान अवस्थालाई समेट्ने गरी समायोजनको काम भइरहेको छ ।

महामन्त्री शाहले पनि महाधिवेशनमा सबै पक्षको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्ने गरी तयारी भइरहेको बताएका छन् । महाधिवेशनका लागि गठन गरिएका विभिन्न समितिहरूले आफ्नो कार्यमोडालिटी तयार पारेर पार्टी सचिवालयमा बुझाउने काम गरिरहेको जनाइएको छ ।

एक हजार ९२२ जना सवारी चालक कारबाहीमा

काठमाडौँ ।काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सञ्चालन गरेको विशेष जाँच अभियानका क्रममा एक हजार ९ सय २२ जना सवारी चालक कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट १९ लाख ७० हजार २ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १ सय १८ जना, राइड सेयरिङसम्बन्धी नियम उल्लङ्घन गर्ने १ सय ९८ जना, रातो बत्ती उल्लङ्घन गर्ने १ सय २६ जना तथा तीव्र गतिमा सवारी चलाउने १ सय ३१ जना चालकलाई कारबाही गरिएको छ ।

त्यसैगरी, लेन मिच्ने ७३ जना, फुटपाथमा सवारी चलाउने ९० जना, हर्न निषेध क्षेत्र उल्लङ्घन गर्ने ९५ जना, एकतर्फी सडकमा सवारी चलाउने १ सय ५ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ९ सय ८६ जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी चलाउनु कानुनविपरीत र दण्डनीय कार्य भएको भन्दै चालकले त्यस्तो अवस्था देखिएमा यात्रुले तत्काल नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन आग्रह गरेको छ ।

यसैबीच, काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरेर सवारी चलाइरहेका पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक यातायातलाई सुरक्षित बनाउने उद्देश्यले सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत काठमाडौँको थली क्षेत्रमा गरिएको ‘लागुपदार्थ सेवन (लापसे) चेकिङ’का क्रममा उनीहरू पक्राउ परेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली, लागुऔषध नियन्त्रण ब्यूरो, उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी प्रभाग थलीको संयुक्त टोलीले चालकहरूको विशेष परीक्षण गरेको थियो । परीक्षणका क्रममा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि पाँच जना चालकलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा दुई जना बस चालक, एक जना मिनी ट्रक चालक, एक जना लाइट गाडी चालक र एक जना हात्ती भ्यान चालक रहेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार संयुक्त टोलीले गरेको स्वास्थ्य परीक्षण र प्रारम्भिक जाँचका क्रममा चालकहरूले लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

कहाँ छन् देउवा ?

काठमाडौँ। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मुखैमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा सिङ्गापुर प्रस्थान गरेका थिए । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएपछि उनी फलोअप उपचारका लागि फागुन १४ गते सिङ्गापुर गएका हुन् । तर, तीन महिना बितिसक्दा पनि उनी स्वदेश फर्किएका छैनन्,  र कहिले फर्किन्छन् भन्ने कुनै टुंगो छैन। 

सिङ्गापुरबाट नेपाल नफर्की देउवा अहिले हङकङ पुगेका छन् । पूर्वपरराष्ट्रमन्त्री तथा उनकी पत्नी डा. आरजु राणा यसअघि नै भारत हुँदै हङकङ पुगेकी थिइन् । देउवा दम्पती निकट स्रोतका अनुसार उनीहरूको तत्काल नेपाल फर्किने सम्भावना न्यून देखिएको छ ।

यसबीच, प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ नजिकको मत ल्याउँदै सरकारको नेतृत्व गरिरहेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएसँगै देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । यही कारण उनीहरू तत्काल स्वदेश फर्किने अवस्थामा नरहेको बताइन्छ ।

नेपाल प्रहरीले देउवा दम्पतीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोललाई पत्राचार गरे पनि इन्टरपोलले प्रक्रिया नमिलेको भन्दै नोटिस जारी गर्न अस्वीकार गरेको छ ।

यदि जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार नढलेको भए आगामी असारमा देउवा पुनः प्रधानमन्त्री बन्ने तयजस्तै थियो । २०८१ असार १७ गते देउवा र एमाले अध्यक्ष ओलीबीच भएको सातबुँदे सहमतिअनुसार आलोपालो सरकार सञ्चालन गर्ने समझदारी भएको थियो । सोही सहमतिअनुसार असार ३१ गते ओली दुई वर्षका लागि प्रधानमन्त्री बनेका थिए भने २०८४ सालको आवधिक निर्वाचन गराउने चुनावी सरकारको नेतृत्व देउवाले गर्ने सहमति थियो ।

तर, गत भदौमा भएको जेनजी आन्दोलनले ओली नेतृत्वको सरकार ढाल्यो । आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री ओली सेनाको सुरक्षा घेरामा बालुवाटार छाड्न बाध्य भएका थिए भने देउवा दम्पती आफ्नै निवासमा आक्रमणमा परेका थिए । आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका महत्वपूर्ण संरचनामा समेत क्षति पुगेको थियो ।

आन्दोलन साम्य भएपछि देउवाले नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका थिए । त्यसपछि उनी उपचारका लागि असोज २८ गते सिङ्गापुर प्रस्थान गरेका थिए ।

रवि–जीबीलाई उन्मुक्ति, सभामुख डीपी र कविन्द्र जोडिएको सहकारी पनि विवादमा(भिडिओ)

काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछाने र जीबी राई लगायतमाथि लगाइएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने सरकारी निर्णयले राजनीतिक र कानुनी वृत्तमा गम्भीर विवाद सिर्जना गरेको छ ।

जिल्ला अदालत कास्कीले शुक्रबार सरकारको निर्णय सदर गरेपछि सहकारी पीडित, कानुन व्यवसायी तथा विपक्षी राजनीतिक वृत्तले यसलाई ‘छनोटपूर्ण न्याय’ भन्दै आलोचना गरेका छन् ।

एउटै प्रकृतिको सहकारी ठगी प्रकरणमा अन्य अभियुक्तमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा यथावत राखिएको अवस्थामा रवि-जीबी समूहलाई भने उन्मुक्ति दिइएको भन्दै प्रश्न उठेको हो ।

सरकारको निर्णयअनुसार सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत रहनेछ । तर, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिइएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले महान्यायाधिवक्ता कार्यालयको परिपत्रका आधारमा अदालतमा निवेदन दिएको थियो । त्यसलाई न्यायाधीश हिमलाल बेलबासेको इजलासले सदर गरेको हो ।

यसअघि तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी बरालले सुरुमा रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन् । त्यसपछि ‘एउटै मुद्दाका अन्य अभियुक्तलाई मुद्दा कायम राखेर रविलाई मात्रै छुट दिन मिल्दैन’ भन्ने आलोचना भएपछि जीबी राई समूहका सबै आरोपितको अभियोग फिर्ता लिने निर्णय गरिएको थियो ।

यो प्रकरणमा मुख्य विवादको केन्द्रमा जीबी राई नेतृत्वको गोरखा समूह छ । सरकारी अनुसन्धानअनुसार उक्त समूहले देशभरका विभिन्न सहकारी संस्थाबाट २१ अर्ब रुपैयाँभन्दा बढी बचत अपचलन गरेको आरोप छ । अनुसन्धानमा सहकारीको बचत रकम निजी कम्पनी, नेटवर्किङ व्यवसाय र अन्य व्यावसायिक संरचनामा सारिएको विवरण खुलेको थियो ।

जीबी समूहसँग जोडिएका स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सहारा चितवन बचत तथा ऋण सहकारी, लालीगुराँस बचत तथा ऋण सहकारी, गोरखा बचत तथा ऋण सहकारी लगायत संस्थाबाट अर्बौं रुपैयाँ हिनामिना भएको आरोप छ ।

यिनैमध्ये ‘हाम्रो नयाँ कृषि सहकारी’ विशेष रूपमा विवादमा आएको छ । उक्त सहकारी समस्याग्रस्त घोषणा भइसकेको छ भने त्यसमा डोलप्रसाद अर्याल तथा कबिन्द्र बुर्लाकोटीको नामसमेत जोडिएको भन्दै राजनीतिक बहस चर्किएको छ । विपक्षी दलहरूले सहकारी प्रकरणमा जोडिएका व्यक्तिहरू राज्यका महत्वपूर्ण पदमा रहेकाले अनुसन्धान प्रभावित भएको आरोप लगाउँदै आएका छन् ।

सहकारी ठगीमा संलग्न समूहले बचतकर्ताको रकम विभिन्न कम्पनीमा लगानी गरेको आरोप पनि छ । जीबी राई समूहले गोरखा ग्रुप अफ कम्पनी, जीबी ग्रुप अफ कम्पनी, नेचर हर्ब्स, नेचर नेस्ट, गोरखा आयुर्वेद, हर्बो र गुप्ती टी कम्पनीजस्ता व्यवसाय सञ्चालन गरेको विवरण सरकारी अनुसन्धानमा उल्लेख छ ।

अनुसन्धान अधिकारीहरूका अनुसार सहकारीबाट अपचलन गरिएको रकम प्रत्यक्ष बिक्री तथा नेटवर्किङ व्यवसायमा समेत लगानी गरिएको थियो । नेपालमा एक समय व्यापक विवादित बनेको नेटवर्किङ व्यवसायमा जीबी राईको संलग्नता पहिलेदेखि नै रहेको बताइन्छ । उनी हर्बो इन्टरनेसनलसँग समेत आबद्ध रहेको विवरण सार्वजनिक भइसकेको छ ।

यस्तो अवस्थामा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिइनुलाई कानुन व्यवसायीहरूले अस्वाभाविक मानिरहेका छन् । उनीहरूका अनुसार सहकारीबाट उठाइएको रकम निजी कम्पनी वा अन्य व्यवसायमा सारिएको प्रमाण भेटिएपछि सम्पत्ति शुद्धीकरणको कसुर स्वतः आकर्षित हुन्छ ।

यसअघि अन्य सहकारी ठगी प्रकरणमा भने अदालतले कडा फैसला गर्दै आएको छ । इच्छाराज तामाङलाई विशेष अदालतले सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गर्दै तीन वर्ष कैद, अर्बौं रुपैयाँ जरिबाना तथा सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । त्यस्तै केदारनाथ शर्मामाथि पनि अर्बौं रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मुद्दा विचाराधीन छ ।

तर रवि-जीबी समूहको हकमा मात्रै सरकारले मुद्दा फिर्ता लिएको निर्णयले ‘राजनीतिक पहुँच भएकालाई छुट’ दिइएको सन्देश गएको टिप्पणी भइरहेको छ ।

सहकारी पीडितहरूले भने अझै आफ्नो बचत रकम फिर्ता पाउन सकेका छैनन् । देशभरका हजारौं बचतकर्ताले रकम डुबेको भन्दै आन्दोलन गरिरहेका बेला सरकारले गम्भीर अभियोग फिर्ता लिएको निर्णयले पीडितहरू थप आक्रोशित बनेका छन् ।

राजनीतिक वृत्तमा समेत यो निर्णयलाई लिएर बहस बढेको छ । विपक्षी दलहरूले सहकारी प्रकरणमा जोडिएका सबै व्यक्तिमाथि समान कानुनी व्यवहार हुनुपर्ने माग गर्दै आएका छन् । उनीहरूले सरकारमाथि राजनीतिक संरक्षणका आधारमा मुद्दा कमजोर बनाएको आरोप लगाएका छन् ।

सहकारी ठगी प्रकरण अहिले केवल आर्थिक अपराधको मुद्दा मात्रै नभएर राज्यको निष्पक्षता, कानुनी समानता र राजनीतिक प्रभावको परीक्षणको विषय बनेको छ ।

भ्रम,विज्ञान र विश्वासको घेराउमा ‘टेलिकिनेसिस’

काठमाडौं। मानव सभ्यताको इतिहासभरि मानिसले आफूलाई घेरेको भौतिक संसारभन्दा पर केही अदृश्य शक्ति वा क्षमताको रुपमा देख्दै आएको छ । त्यही कल्पनाशीलताको एक उदाहरण हो टेलिकिनेसिस। जहाँ कुनै वस्तुलाई हातले नछोई, मनको शक्तिबाटै त्यसमा हाबी हुन सकिन्छ  वा कन्ट्रोल गर्न सकिन्छ भन्ने दाबी गरिन्छ ।

यसको दाबी विभिन्न समय, संस्कृति र विश्वास प्रणालीमा फरक-फरक स्वरूपमा प्रस्तुत हुँदै आएको छ। 

टेलिकिनेसिस प्राचीन ग्रीक शब्द ‘टेले’ – टाढा र ‘किनेसिस’ – गति मिलेर बनेको हुन्छ। जसलाई साइकोकिनेसिस पनि भनिन्छ । यसको अर्थ, कुनै भौतिक वस्तुलाई प्रत्यक्ष शारीरिक सम्पर्क बिना, मानसिक शक्तिको आधारमा चलाउन सकिने क्षमता हो । 

यसलाई प्रायः ‘मनले पदार्थ नियन्त्रण गर्ने शक्ति’ भनेर चित्रण गरिएकाले मानव कल्पनालाई लामो समयदेखि आकर्षित गर्दै आएको छ। तर आधुनिक विज्ञानको दृष्टिमा यो अवधारणा अझैसम्म प्रमाणविहीन नै छ।  

इतिहास हेर्दा टेलिकिनेसिस र यस्तै अलौकिक दाबीहरू उन्नाइसौँ शताब्दीको अध्यात्मवादी आन्दोलनसँग जोडिन्छन् । त्यतिबेला केही व्यक्तिहरूले आत्मासँग सम्पर्क, वस्तुहरूको स्वतः गति, र अदृश्य शक्तिहरूको प्रभावजस्ता घटनाहरू सार्वजनिक रूपमा प्रस्तुत गरेका थिए।

सुरुमा यस्ता घटनाहरू रहस्यमय र चमत्कारिक मानिए पनि पछि विस्तृत परीक्षणहरूले तीमध्ये धेरैजसो घटनामा छलकपट, ध्यान विचलन गर्ने तरिका, वा भौतिक उपकरणहरूको प्रयोग भएको देखियो । 

बीसौँ शताब्दीमा टेलिकिनेसिसलाई प्रयोगशालामा प्रमाणित गर्ने प्रयासहरू पनि गरिए। केही अनुसन्धानकर्ताहरूले पासा, हल्का वस्तु, वा इलेक्ट्रोनिक उपकरणहरूमा मानसिक प्रभाव परीक्षण गर्ने प्रयास गरे। प्रारम्भिक चरणमा केही ‘सकारात्मक’ जस्तो देखिने परिणामहरू आए पनि ती अध्ययनहरू पुनः दोहोर्याउँदा स्थिर नतिजा दिन असफल भए। 

सन् १९८० को दशकमा गरिएको महत्वपूर्ण वैज्ञानिक मूल्याङ्कनहरूले टेलिकिनेसिसप्रति थप स्पष्ट दृष्टिकोण प्रस्तुत गरे । संयुक्त राज्य अमेरिकामा गठन गरिएका वैज्ञानिक समितिहरूले लामो अध्ययनपछि निष्कर्ष निकाले,अतिरिक्त इन्द्रिय धारणा, मानसिक सम्पर्क, वा वस्तुहरूलाई मानसिक रूपमा चलाउने क्षमताको कुनै ठोस प्रमाण छैन भनेर प्रमाणित गरे । 

भौतिक विज्ञानको दृष्टिबाट हेर्दा टेलिकिनेसिसको अवधारणा आधारभूत वैज्ञानिक नियमहरूसँग गम्भीर रूपमा विरोधाभासी देखिन्छ। ऊर्जाको नियम अनुसार ऊर्जा सिर्जना वा नष्ट हुन सक्दैन। रूप परिवर्तन हुन सक्छ। यदि मनले वस्तु सार्न सक्ने शक्ति उत्पादन गर्छ। भने त्यो ऊर्जा कहाँबाट आउँछ। भन्ने प्रश्न अनिवार्य हुन्छ।

संवेग संरक्षणको नियम अनुसार कुनै पनि वस्तु चल्न बाह्य बल आवश्यक हुन्छ।  जुन भौतिक स्रोतबाट उत्पन्न हुनुपर्छ। टेलिकिनेसिसले यस्तो कुनै स्रोत स्पष्ट गर्न सकेको छैन।

भौतिकशास्त्रीहरूको विचारमा यदि यस्तो कुनै शक्ति अस्तित्वमा हुन्थ्यो भने त्यसले प्रकृतिमा स्पष्ट र मापनयोग्य प्रभाव देखाउनुपर्थ्यो । उदाहरणका लागि, दैनिक जीवनका सबै भौतिक प्रणालीहरूमा यसको असर देखिन्थ्यो। तर त्यस्तो कुनै संकेत कहिल्यै भेटिएको छैन। 

केही वैज्ञानिकहरूले यस्तो काल्पनिक शक्तिलाई ‘पाँचौँ बल’ को रूपमा व्याख्या गर्नुपर्ने सम्भावनाको चर्चा समेत गरेका छन्। तर यस्तो कुनै बलको प्रमाण अहिलेसम्म प्राप्त भएको छैन। 

मानव मनोविज्ञानले पनि टेलिकिनेसिसप्रतिको विश्वासलाई बुझ्न महत्वपूर्ण भूमिका खेल्छ। मानिसको मस्तिष्कले अनियमित घटनामा पनि अर्थपूर्ण सम्बन्ध खोज्ने प्रवृत्ति राख्छ। जब कुनै व्यक्ति कुनै घटना चाहन्छ। र त्यसपछि त्यस्तै घटना हुन्छ। उसलाई आफ्नो सोचले त्यसलाई प्रभाव पारेको जस्तो लाग्न सक्छ। तर वास्तविक रूपमा त्यो संयोग हुन सक्छ। यसलाई ‘नियन्त्रणको भ्रम’ भनिन्छ।

त्यसैगरी ‘पुष्टि पूर्वाग्रह’ ले मानिसलाई आफ्नो विश्वासलाई समर्थन गर्ने प्रमाण मात्र याद गराउने र विरोधी प्रमाणलाई बेवास्ता गराउने गर्छ। उदाहरणका लागि, यदि कसैले टेलिकिनेसिसमा विश्वास गर्छ भने उसले सफल जस्तो देखिने घटनालाई मात्र सम्झन्छ। असफल प्रयासहरूलाई भने बिर्सिन्छ। 

‘फ्रेम इलुजन’ले पनि अनियमित घटनामा अर्थपूर्ण संरचना देख्ने प्रवृत्ति सिर्जना गर्छ।  जसले अलौकिक विश्वासलाई बल दिन्छ।

इतिहासमा धेरै चर्चित टेलिकिनेसिस प्रदर्शनहरू पछि जादु वा छलकपट भएको प्रमाणित भएका छन्। केही प्रदर्शनकर्ताहरूले अदृश्य धागो, सूक्ष्म शारीरिक चाल, चुम्बकीय प्रभाव, वा स्थिर विद्युत प्रयोग गरेर वस्तुहरू सार्ने वा बाङ्ग्याउने गरेका थिए।

प्रयोगशालामा गरिएका केही घटनाहरूमा समेत अनुसन्धानकर्ताहरूलाई भ्रमित पार्न सफल भएका उदाहरणहरू समेत भेटिन्छन्।  

धातु बाङ्ग्याउने दाबीहरू टेलिकिनेसिसको सबैभन्दा प्रसिद्ध दृष्टान्त हुन् । चम्चा वा चाबी बाङ्गिएको जस्तो देखिने धेरै घटनाहरू पछि सामान्य भौतिक कारणले व्याख्या गर्न सकिने देखिन्छ। 

तर वैज्ञानिकहरुको प्रयोगमा केही अवस्थामा वस्तु पहिल्यै कमजोर बनाइएको हुन्थ्यो त केही अवस्थामा सूक्ष्म दबाब प्रयोग गरिएको हुन्थ्यो। र केही अवस्थामा वातावरणीय प्रभाव नै पर्याप्त हुन्थ्यो।  

वैज्ञानिक प्रमाण नभए पनि टेलिकिनेसिसप्रतिको विश्वास पूर्ण रूपमा लोप भएको छैन । यसको एउटा कारण मानव कल्पनाशक्ति लाई मानिन्छ। जसले असाधारण क्षमताप्रति आकर्षण सिर्जना गर्छ। 

अर्को कारण हो चलचित्र, उपन्यास र टेलिभिजनले यस्ता शक्तिलाई नायकत्व र रहस्यसँग जोडेर प्रस्तुत गर्नु हो । व्यक्तिगत अनुभव र सांस्कृतिक प्रभावले पनि यस्तो विश्वासलाई निरन्तरता दिन सक्छ।

वैज्ञानिक दृष्टिमा कुनै पनि दाबीलाई स्वीकार गर्न तीन प्रमुख आधार आवश्यक हुन्छ, मापनयोग्य प्रमाण, दोहोर्याउन सकिने प्रयोग, र स्वतन्त्र रूपमा पुष्टि गर्न सकिने परिणाम। टेलिकिनेसिसका कुनै पनि दाबीहरूले भने मापदण्ड पूरा गर्न असफल भएका छन्। वैज्ञानिक समुदायमा यसको अस्तित्वलाई समर्थन गर्ने कुनै ठोस आधार भने भेटिएको छैन । 

बालेनले ल्याएको अध्यादेश रोक्ने रणनीतिमा तीन विपक्षी दल

काठमाडौं । बालेन सरकारलाई तीन विपक्षी दलले राष्ट्रियसभामा गम्भीर धक्का दिने तयारी गरेका छन् । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई कांग्रेस, एमाले र नेकपाले राष्ट्रियसभामा रोकेर बालेन सरकारलाई धक्का दिने तयारी गरेका हुन् ।

यी तीन दलले बालेन सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेशलाई संविधानको मर्म र भावनाविरीत भएको बताएका छन् ।

शुक्रबार कांग्रेस सभापति गगन थापाले भनेका छन्– संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रिय सभामा रोक्नुपर्छ । अन्य अध्यादेशलाई पनि नरोक्ने सभापति थापाले बताए ।

बालेन सरकारले ल्याएको ८ वटामध्ये सबैभन्दा महत्वपूर्ण अध्यादेश नै संवैधानिक परिषद् सम्बन्धी हो । राष्ट्रपति रामचन्द्र पौडेलले समेत यो अध्यादेशलाई एकपटक फिर्ता पठाएका थिए ।

भनिन्छ, उनले विपक्षी दलहरू कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाको दबाबमा अध्यादेश बालेन सरकारलाई नै फिर्ता पठाएका थिए । तर, जस्ताको जस्तै सोही अध्यादेश प्रधानमन्त्री बालेनले प्रमाणीकरण गर्न सिफारिस गरेपछि राष्ट्रपति पौडेललाई अप्ठेरोमा परेका थिए ।

अन्ततः उनले प्रमाणीकरण गरे र जारी गरे । यो अध्यादेशबारे प्रमुख विपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गत २९ वैशाखको संसद् बैठकमा सरकारको कडा आलोचना गरे ।

अन्य विपक्षी दलका सांसदहरूले पनि विरोध गरे । यस्तोमा अब राष्ट्रिय सभामा कांग्रेस, एमाले र नेकपा मिलेर बालेन सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई रोक्ने भएका हुन् ।

 

चिकित्सकले सेवा बन्द गरेपछि सेवाग्राहीको नाराबाजी

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा चिकित्सकहरूले सेवा बन्द गर्दै पेनडाउन गरेपछि सेवाग्राही प्रभावित भएका छन् ।

टाढाटाढाबाट उपचारका लागि आएका बिरामी र उनीहरूका आफन्तले सेवा अवरुद्ध भएपछि अस्पताल प्रशासन र चिकित्सकविरुद्ध नाराबाजी गरेका छन् ।

हिजो बिहीबार एक सुत्केरीको शल्यक्रियापछि मृत्यु भएको घटनापछि अस्पताल प्रशासनले संलग्न दुई चिकित्सकलाई निलम्बन गरेपछि चिकित्सकहरूले आज पेनडाउन गरेका हुन् ।

सुत्केरी अञ्जिना यादवको मृत्यु भएपछि मृतकका परिवारले दोषी चिकित्सकमाथि कारबाहीको माग गर्दै अस्पतालमा प्रदर्शन गरेका थिए । त्यसपछि उपचारमा संलग्न चिकित्सकद्वय डा. धीरज कुमार साह र डा. श्रेयालक्ष्मी साहलाई छानबिन अवधिभरका लागि निलम्बन गर्ने निर्णय गरिएको थियो ।

उक्त निर्णयको विरोधमा चिकित्सकहरूले सेवा बन्द गरेपछि अस्पतालको नियमित उपचार सेवा प्रभावित भएको छ । यसले गर्दा सेवाग्राही थप समस्यामा परेका छन् ।

नाकामा फसेका इन्डोनेसियाली नागरिक स्वदेश फर्किंदै

एजेन्सी। इजरायली सेनाले गाजाका लागि मानवीय सहायता सामग्री बोकेका दुई जहाजलाई समुद्री नाकामा रोकेर नियन्त्रणमा लिएका नौ जना इन्डोनेसियाली नागरिक हाल स्वदेश फर्किरहेको इन्डोनेसियाका विदेशमन्त्री सुगियोनोले बताएका छन् ।

विदेशमन्त्री सुगियोनोका अनुसार ती स्वयंसेवकहरू इजरायली क्षेत्रबाट टर्कीको इस्तानबुलतर्फ प्रस्थान गरेका छन्।  छिट्टै इन्डोनेसिया पुग्ने अपेक्षा गरिएको छ । इन्डोनेसियाको विदेश मन्त्रालयले पनि उनीहरूको फिर्ती प्रक्रिया पुष्टि गरेको छ ।

सुगियोनोले इन्डोनेसियाली नागरिकहरूको रिहाइ तथा स्वदेश फिर्ती प्रक्रिया सरकारले गरेको कूटनीतिक प्रयास र सम्बन्धित पक्षहरूसँगको समन्वयका कारण सम्भव भएको बताए । साथै उनले सहयोग तथा समर्थनका लागि टर्की सरकारप्रति आभार व्यक्त गरेका छन् ।

यसैबीच, स्वयंसेवकहरूले नजरबन्दको क्रममा भोगेको भनिएको अमानवीय व्यवहारबारे जानकारी आएपछि इन्डोनेसियाले त्यसको कडा निन्दा गरेको छ ।

विदेशमन्त्री सुगियोनोले यस्ता कार्य अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै सबै नागरिकको सुरक्षित फिर्ती सुनिश्चित गर्न सरकार सक्रिय रूपमा लागिरहेको बताएका छन् ।

कार्यदलका राजावादी संयोजक शाहले मागे संविधान संशोधनमा राय

ठमाडौं । राजतन्त्रप्रति झुकाव राख्ने संविधान संशोधन बहसपत्र कार्यदलका संयोजक असीम शाहले संविधान संशोधनबारे सार्वजनिक रुपमा सुझाव मागेका छन् । सबै नागरिकको सहभागिता सुनिश्चित गर्न भन्दै उनले लिखित सुझाव माग गरेका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार रहेका राजतन्त्रपक्षधर शाहले संविधानसंशोधन जिमेल डटकमा लिखित सुझाव मागेका हुन् । असीमले ४ वर्षअघि स्टाटस लेख्दै राजा ज्ञानेन्द्रलाई सुध्रिने मौका दिनुपर्ने भन्दै भनेका थिए, ‘राजा आउ देश बचाउ ।’

राजा समर्थित शाहलाई राजनीतिक सल्लाहकार मात्रै नभएर संविधान सशोधनको बहसपत्र तयार गर्ने कार्यदलको संयोजक बनाउनुले बालेन्द्र शाह देशलाई राजतन्त्रतिर फर्काउने शासक हुने विश्लेषण भइरहेको छ ।

उसो त प्रधानमन्त्री बालेन गणतान्त्रिक व्यवस्थाअनुसारको राष्ट्रप्रमुख राष्ट्रपतिको अपमान गर्न तल्लिन छन् । गत २८ वैशाखमा नीति तथा कार्यक्रम ल्याउँदा उनले राष्ट्रपति रामचनद्र पौडेल नीति कार्यक्रम सार्वजनिक गरिरहँदा संसदीय मर्यादालाई ख्याल नगरी उठेर हिँडेका थिए । सदनप्रति उनले लगातार बेवास्ता गरिरहेका छन् ।

यस्तोमा प्रधानमन्त्री बालेन आफ्ना राजासमर्थित राजनीतिक सल्लाहकार शाह नेतृत्वको कार्यदललको सिफारिसको आधारमा गणतन्त्र फालेर राजतन्त्र पुनःस्थापनाको दिशामा त छैनन् ? प्रश्न उठेको छ ।

लिग-२ : नेपालले अमेरिकालाई १२२ रनले हरायो

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिका विरुद्ध शानदार जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको हो ।

यसअघि भएको खेलमा पनि नेपालले अमेरिकामाथि ९ विकेटको सहज जित निकालेको थियो ।

नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै अलआउट भयो ।

अमेरिकाका लागि सञ्जय कृष्णमुर्तीले ५६ रन, शयान जहांगिरले २७ रन, शेहान जयसूर्याले २६ रन, नोस्थुस केन्जिगेले २४ रन, सैतेजा मुक्कमल्लाले २२ रन र मिलिन्द कुमारले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

रवि लामिछानेको मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं । प्रधानन्यायाधीश मनोज शर्मा भएलगत्तै रास्वपा सभापति रवि लामिछाने विपक्षी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने प्रक्रिया अघि बढेको छ ।

उच्च अदालत पोखराले मुद्दा फिर्ता लिनेगरी अभियोगपत्र संशोधन गर्न शुक्रबार आदेश दिएको हो । शर्मा लामिछाने हुन् । उनी रास्वपा सभापति रवि लामिछानेसँग नजिक मानिन्छन् ।

चौथो वरियताका उनलाई वरिष्ठता, विधि र स्थापित परम्परा तोडेर प्रधानन्यायाधीश बनाउनुको उद्देश्य नै रविको मुद्दा फिर्ता गर्ने भन्ने थियो ।

एकातिर, रवि लामिछाने, जीबी राई, छविलाल जोशीलगायतले देशका विभिन्न सहकारीका अर्बौँ पैसा ग्यालेक्सी फोरके टेलिभिजनमा लगेर अपचलन गरेको र त्यस सम्बन्धी मुद्दाबाट रविलाई उन्मुक्ति दिन बालेन सरकारले जनताको कर लामिछानेसमेतले अपचलन गरेको पैसा फिर्ता गराउँदा अर्कोतिर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन प्रधानन्यायाधीश शर्माको इशारापछि पोखरा अदालतबाट यस्तो आदेश आएको हो ।

पूर्वसूचना बिना सवारी दर्ता रोकिँदा लगानी जोखिममा परेको चेम्बरको चेतावनी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पूर्वसूचना बिना सवारी साधनको दर्ता रोकिँदा लगानी जोखिममा परेको बताएको छ ।

अटोमोबाइल आयातकर्ता तथा व्यवसायीहरूसँग कुनै पूर्व सूचना, छलफल वा समन्वय नगरी हठात् रूपमा सार्वजनिक सवारी साधन दर्ता रोक्का गर्ने निर्णय गरिँदा लगानी प्रभावित भएको चेम्बरको भनाइ छ ।

चेम्बरले जारी गरेको विज्ञप्तिमा विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत ऋण लिएर एलसी खोली आयात गरिएका सयौँ सवारी साधन अहिले भन्सार प्रक्रिया पूरा भइसकेको वा पूरा हुने चरणमा रहेको उल्लेख गरिएको छ । केही सवारी ट्रान्जिटमा रहेका तथा केही उत्पादन कम्पनीबाट निर्माण भई पठाइसकिएको अवस्थामा रहेको पनि जनाएको छ ।

सार्वजनिक यातायात सेवाका लागि आयात गरिएका ती सवारी साधन अन्य क्षेत्रमा प्रयोग हुने सम्भावना न्यून रहेको भन्दै यस्तो अवस्थामा दर्ता रोकिँदा व्यवसायीहरू गम्भीर आर्थिक संकटमा पर्न सक्ने चेतावनी दिइएको छ ।

चेम्बरका अनुसार यसले अन्तर्राष्ट्रिय उत्पादक कम्पनीहरूसँग नेपाली व्यवसायीहरूको विश्वसनीयतामा नकारात्मक असर पार्ने र देशको व्यावसायिक प्रतिष्ठा तथा अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा दीर्घकालीन प्रभाव पर्न सक्नेछ ।

कोभिड–१९ महामारीका बेला पनि अचानक सवारी आयात रोकिँदा नेपाली व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा विश्वास गुमाएको स्मरण गर्दै चेम्बरले पुनः त्यस्तै अवस्था दोहोरिन सक्ने जोखिम औंल्याएको छ ।

चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालका अनुसार यो निर्णयले सार्वजनिक यातायात सेवा, रोजगारी, अटोमोबाइल व्यवसाय, बैंकिङ क्षेत्रको लगानी तथा सरकारी राजस्वमा समेत प्रत्यक्ष असर पार्न सक्नेछ ।

परराष्ट्रको दाबी : भारतले नेपाली चिया निर्यातको अवरोध हटायो

काठमाडौं। परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण प्रभावित भएको नेपाली चिया निर्यात कूटनीतिक पहलपछि सहज बनेको बताए ।

उनका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासीमा देखिएको समस्या समाधान भएको हो ।

यसैबीच, नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जुन महिनामा काठमाडौंमा आयोजना हुने तय भएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सह–अध्यक्षता गर्नेछन् ।

त्यसैगरी नेपालले नर्वे र स्विट्जरल्यान्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डका सीमावर्ती क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरमा फसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको पनि मन्त्रालयले जनाएको छ । हालसम्म ६ सय ८७ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ, जसमध्ये पछिल्लो दुई सातामा ७१ जना उद्धार गरिएको बताइएको छ ।

प्रवक्ता क्षेत्रीका अनुसार कम्बोडियाका जेलमा रहेका २९ जना नेपालीका लागि कानुनी सहायताको पहल भइरहेको छ भने म्यानमारमा कैद नेपालीहरूको उद्धारका लागि कूटनीतिक प्रयास जारी छ ।

यसैबीच, विदेशमा रहेका नेपालीलाई परामर्श र सहयोग उपलब्ध गराउन मन्त्रालयले ‘मोफा मित्र’ एप आगामी जेठ २२ गते सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

व्यक्तिगत घटना दर्तासम्बन्धी कागजातहरूको अनलाइन प्रमाणीकरण प्रणालीलाई पनि थप विस्तार गरिएको मन्त्रालयले जनाएको छ ।

राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको अन्तिम तयारी गरिरहेको जानकारी दिँदै मन्त्रालयले असार अन्तिम सातादेखि नयाँ प्रणाली पूर्ण रूपमा लागू हुने जनाएको छ । हाल राहदानी सेवा नियमित सञ्चालनमै रहेको पनि स्पष्ट पारिएको छ ।

संक्रमणकालीन अवस्थालाई सहज बनाउन पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई जेठ महिनाभित्रै आवेदन दिन मन्त्रालयले आग्रह गरेको छ ।

रास्वपाले निकालेपछि – ‘मेरो राजनीतिक हत्या भयो’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाराका नेता चन्दन स्वर्णकार (शर्राफ)लाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरेको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा गत वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकारको सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्यालय संगठन विभागका सचिव शंकर श्रेष्ठद्वारा जेठ ६ गते पठाइएको पत्रमार्फत उक्त निर्णयको आधिकारिक जानकारी गराइएको छ ।

अनुशासन आयोगमा बाराबाट निर्वाचित ४ जना सांसदहरुले स्वर्णकारविरुद्ध उजुरी दिएका थिए । आर्थिक अनियमिता गरेको, पार्टी संगठन परिचालन नगरेको, विपक्षी दलका उम्मेदवारको पक्षमा लागेको लगायत आरोप लगाउँदै उनलाई कारबाही गरिएको रास्वपाले जनाएको छ ।

पार्टीको उक्त निर्णयप्रति आपत्ति जनाउँदै स्वर्णकारले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफूलाई अन्यायपूर्ण रूपमा हटाइएको दाबी गर्दै यसलाई ‘राजनीतिक हत्या’ को संज्ञा दिएका छन् ।

स्वर्णकारले जेठ ९ गते हुने बारा जिल्लाको विस्तारित बैठक र अधिवेशनको ठीक अघि आफूविरुद्ध षड्यन्त्र गरिएको आरोप लगाएका छन् । उनले कुनै निष्पक्ष छानबिनबिना नै केन्द्रले निर्णय गरेको दाबी गर्दै पार्टीभित्रको आन्तरिक दबाबका कारण आफूलाई निष्कासन गरिएको बताएका छन् ।

उनले पार्टीबाट हटाइए पनि आफ्नो राजनीतिक यात्रा समाप्त नभएको भन्दै स्वतन्त्र रूपमा जनताको सेवामा सक्रिय रहने बताएका छन् । महागढीमाई र बाराका जनताको समर्थन आफ्नो साथमा रहेको उनको भनाइ छ ।

स्वर्णकारले आगामी स्थानीय निर्वाचनमा जनताले नै आफ्नो राजनीतिक भविष्यको निर्णय गर्ने भन्दै न्यायको लडाइँमा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा राखेको अभिव्यक्ति जस्ताको त्यस्तै :

‘अन्ततः मेरो राजनीतिक हत्या भयो, अब फैसला महागढीमाई र बाराका जनताको हातमा!’

‘आदरणीय आम जनसमुदाय, षड्यन्त्रको पराकाष्ठा कस्तो हुन्छ भन्ने कुराको अन्तिम प्रमाण यही पत्र हो। तथ्य र प्रमाणहरूलाई पूर्ण रूपमा नजरअन्दाज गर्दै, विना कुनै निष्पक्ष छानबिन, केन्द्रले जेठ ९ गते हुन लागेको बाराको विस्तारित बैठक र अधिवेशनको ठीक अगाडि मलाई साधारण सदस्य समेत नरहने गरी खारेज गरेको आधिकारिक पत्र पठाएको छ।

अधिवेशनमा इमानदार पार्टी सदस्यहरूले मलाई पुनः जिल्ला सभापति चुन्ने डरले माननीयहरूको दबाबमा मलाई पार्टीबाटै निष्कासन गरियो। रास्वपाको एउटा प्राविधिक पानाबाट मेरो नाम हटाइएला, तर महागढीमाई र बाराका स्वाभिमानी जनताको मुटुबाट मेरो नाम कसैले हटाउन सक्ने छैन।

रास्वपाको यो अन्यायपूर्ण निर्णय र जेठ ९ गतेको कथित विस्तारित बैठकलाई बाराका सच्चा कार्यकर्ताहरूले कसरी जवाफ दिनेछन्, त्यो समयले बताउनेछ। मेरो राजनीतिक यात्रा रास्वपाको लोगोमा सकिएको छैन, बरु महागढीमाईको माटो र यहाँका जनताको सेवाका लागि अब स्वतन्त्र रूपमा अझ बलियो भएर अगाडि बढ्नेछ। मेरो फैसला आगामी स्थानीय निर्वाचनमा महागढीमाईका जनताले गर्नेछन्। न्यायको यो लडाइँमा मलाई साथ दिनुहुने सम्पूर्णमा आभार!

जय बारा! जय महागढीमाई!’

 

बालेन सरकारसँग रास्वपाकाे काेशीका सांसदहरूकाे गुनासै गुनासा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र बालेन सरकार र पार्टी सञ्‍चालनबारे असन्तुष्टि बढ्न थालेकाे छ । रास्वपा सभापति रवि लामिछानेसँग शुक्रबार कोसी प्रदेशका सांसदहरूले बालेन सरकार, प्रधानमन्त्री तथा पार्टीभित्रको अवस्थाबारे खुलेर गुनासो गरेका छन्।

शुक्रबार भएकाे छलफलमा सहभागी सांसदहरूका अनुसार सभापति लामिछानेले सुरुमा नै सांसदहरूलाई निर्धक्क भएर धारणा राख्न आग्रह गरेका थिए। त्यसपछि सांसदहरूले मुख्यतः तीन विषयमा असन्तुष्टि व्यक्त गरेका थिए।

सांसदहरूको पहिलो गुनासो प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरूको सचिवालयसँग सम्बन्धित थियो। जनताका समस्या र गुनासा लिएर जाँदा प्रधानमन्त्री तथा मन्त्रीहरूको सचिवालयले सुनुवाइ नगरेको उनीहरूको भनाइ थियो। सांसदहरूले आफूहरूलाई भेटघाट र समन्वयमा समेत कठिनाइ भएको बताएका थिए।

दोस्रो, सांसदहरूले सरकार र पार्टीबीच दूरी बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए। जनताले आफ्ना समस्या सांसदमार्फत सरकारसम्म पुर्‍याउन खोजे पनि मन्त्री र सचिवालयले बेवास्ता गर्दा आफूहरू नै आलोचित हुनुपरेको उनीहरूको भनाइ थियो। सरकारको कामकारबाही प्रभावकारी नभएको र संसद‍मा समेत सरकारको बचाउ गर्न कठिन भइरहेको सांसदहरूले बताएका थिए। उनीहरूले ‘सरकारलाई पार्टीले चलाउनुपर्ने’ धारणा समेत राखेका थिए।

तेस्रो विषय पार्टीभित्रको गुटबन्दीसँग सम्बन्धित थियो। महाधिवेशनको तयारीसँगै ‘नयाँ’ र ‘पुराना’ समूहबीच ध्रुवीकरण बढेको भन्दै सांसदहरूले सभापति लामिछानेको ध्यानाकर्षण गराएका थिए। पुराना नेता-कार्यकर्ताले क्षमताअनुसार भूमिका नपाएको गुनासो समेत उठाइएको थियो।

सांसदहरूको गुनासो सुनेपछि सभापति लामिछानेले प्रधानमन्त्रीसँग छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन्। साथै, संसद्मा सरकारको सार्वजनिक विरोध नगर्न पनि उनले सांसदहरूलाई आग्रह गरेका थिए।

व्यवहारिक र जनमुखी कानुन निर्माण हुनुपर्नेमा सभामुख अर्यालको जोड [भिडियो]

काठमाडौं। सभामुख डोलप्रसाद अर्याल (डीपी)ले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा सांसदहरूले ध्यान दिनुपर्ने बताएका छन् ।

पूर्वसांसद मञ्च नेपालले शुक्रबार आयोजना गरेको ‘संसदीय समितिमा विधायकी र गैरविधायकी अभ्यास’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै सभामुख अर्यालले पुराना कानुनको संशोधन, खारेजी तथा भविष्यलाई ध्यानमा राखेर विधायकी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले विधेयक मस्यौदा निर्माणको वर्तमान अभ्यासले व्यवहारिक पक्षलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको टिप्पणी गरे । उनले भने, ‘विधेयक कसले बनाउँछ, कसलाई सोधेर र कोसँग छलफल गरेर बनाइन्छ ?’

सभामुख अर्यालले कानुनका प्रयोगकर्तालाई जानकारी नै नदिई तयार हुने विधेयकले देशको भूगोल र सामाजिक चेतनालाई समेट्न नसकेको बताए ।

उनका अनुसार ‘कानुनको प्रयोगकर्तालाई कस्तो कानुन बन्छ भन्ने थाहा हुँदैन । हामी कानुन बनाइदिन्छौँ, तिमी प्रयोग गर भन्ने शैली अपनाइन्छ, जसका कारण नागरिकले आफूले पालना गर्नुपर्ने कानुनबारे पर्याप्त जानकारी पाउँदैनन् ।’

उनले कानुन निर्माण प्रक्रिया अझ पारदर्शी र सहभागितामूलक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका विषयगत समितिका सभापति, पूर्वसांसद, संविधानसभा सदस्य, बहालवाला सांसद, संघीय संसद् सचिवालयका महासचिव तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको थियो ।

भिडियो हेर्नुहोस् :

युरेनियम अमेरिका नपठाउन सर्वोच्च नेता खामेनेईको आदेश

एजेन्सी। इरानका सर्वोच्च नेता आयातोल्लाह मुज्तबा खामेनेईले उच्च स्तरमा समृद्ध बनाइएको युरेनियम विदेश नपठाउन निर्देशन दिएका छन् । यो निर्णय अमेरिकाले इरानलाई आफ्नो युरेनियम भण्डार बाहिर पठाउनुपर्ने मागप्रति प्रतिरोधका रूपमा आएको बताइएको छ ।

सार्वजनिक विवरणअनुसार खामेनेईको निर्देशनपछि तेहरानले युरेनियम भण्डारणसम्बन्धी आफ्नो अडान अझ कडा बनाएको छ । इरानी नेतृत्वबीच पनि समृद्ध युरेनियम देशबाहिर नपठाउने विषयमा सहमति बनेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उच्च स्तरको समृद्ध युरेनियम राख्न नदिने बताएका छन् । उनले अमेरिका यस विषयमा आफ्नो उद्देश्यमा सफल हुने दाबी पनि गरेका छन् ।

इजरायली अधिकारीहरूले ट्रम्पले इरानको समृद्ध युरेनियम देशबाहिर पठाइने आश्वासन दिएको बताएका छन् । सम्भावित शान्ति सम्झौतामा पनि यो विषय प्रमुख सर्तका रूपमा राख्न इजरायलले चाहेको उल्लेख छ ।

इरानी अधिकारीहरू भने युरेनियम विदेश पठाइएमा भविष्यमा अमेरिका र इजरायलबाट हुन सक्ने आक्रमणविरुद्ध देश कमजोर हुने चिन्ता व्यक्त गर्दै आएका छन् । त्यसैले भण्डार देशभित्रै सुरक्षित राख्ने निर्णय गरिएको बताइएको छ ।

रिपोर्टअनुसार युद्धविराम लागू भए पनि शान्ति वार्तामा उल्लेखनीय प्रगति हुन सकेको छैन । अमेरिकी नाकाबन्दी र होर्मुज जलडमरूमध्यमा इरानको नियन्त्रणका कारण वार्ता अझ जटिल बनेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार सन् २०२५ जुनसम्म इरानसँग करिब ६० प्रतिशतसम्म समृद्ध गरिएको ४४० दशमलव ९ किलोग्राम युरेनियम रहेको थियो । उक्त सामग्रीको ठूलो हिस्सा इस्फहान र नतान्ज आणविक केन्द्रमा रहेको अनुमान गरिएको छ ।

यात्रुहरू पिसाब फेर्न ओर्लिए लगत्तै पाँचथरमा पिकअप भिरदेखि खस्यो, चालकको मृत्यु

काठमाडौं । यात्रुहरू पिसाब फेर्न ओर्लिए लगत्तै पाँचथरमा अचानक पिकअप गुडेर भिरदेखि खस्दा चालकको मृत्यु भएको छ । मृतक चालक ३५ वर्षीय गोपाल भट्टराई हुन् ।

उनी झापाको बाह्रदशी गाउँपालिका–५ का हुन् । शुक्रबार बिहान उनले चलाएको प्रदेश ०१–००२ च १५६९ नम्बरको सिङ्गल क्याप पिकअप पाँचथरको याङवरक गाउँपालिका–६को अर्चले भन्ने स्थानमा रहेको भिरबाट खसेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको पाँचथरका डीएसपी अनिशकुमार कर्णले बताए । पिकअपमा सवार दुई जना यात्रु पिसाब फेर्न ओर्लिए लगत्तै पिकअप दुर्घटनामा परेको हो।

उनको शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल फिदिममा ल्याइएको छ ।

राज्यलाई हिरासतबाटै दुर्गा प्रसाईंको यस्तो चुनौती

काठमाडौं । केही दिनअघि पर्साको वीरगञ्जबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई सरकारले बिना कारण पक्राउ गरेको आरोप लगाएका छन् ।

हाल प्रहरी हिरासतमा रहेका प्रसाईंले राज्यका नाममा खुला पत्र जारी गर्दै आफूलाई अन्याय गरिएको दाबी गरेका हुन्।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मन्दिर दर्शन र शान्तिपूर्ण कोणसभा गर्न जान लाग्दा पनि आफूलाई प्रहरीले पक्राउ गरेको हो । उनले प्रशासनको अनुमति भए पनि पक्राउ गरिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

प्रसाईंले प्रश्न गर्दै भनेका छन्, ‘यदि पक्राउ नै गर्नु थियो भने जिल्ला प्रशासन कार्यालयले स्वीकृति किन दियो ? के यो नागरिकलाई फसाउने वैधानिक पासो हो ?’

उनले आफूलाई ‘अनावश्यक रूपमा थुनिएको’ भन्दै राज्यको व्यवहारप्रति आपत्ति जनाएका छन् ।

प्रसाईंले सामाजिक सञ्जालमा लेखेका छन् : 

‘अनुमति पत्र’ कि ‘पक्राउ गर्ने पासो’ ? कठघरामा संघीय लोकतान्त्रिक गणतन्त्र ! के यो देशमा कानुनको राज मरेकै हो ? हेर्नुहोस् यो आधिकारिक पत्र ! जिल्ला प्रशासन कार्यालय, पर्साबाट विधिवत् रूपमा प्रक्रिया पुर्‍याएर, लिखित रूपमा स्वीकृति लिएर मन्दिर दर्शन र शान्तिपूर्ण कार्यक्रमका लागि जाँदा मलाई प्रहरीले पक्राउ गर्‍यो । म यो ‘लाचार’ र ‘दोषी’ राज्य सत्तालाई सीधा प्रश्न गर्न चाहन्छु : दोष मेरो हो कि राज्यको ? यदि पक्राउ नै गर्नु थियो भने, जिल्ला प्रशासन कार्यालयले यो स्वीकृतिको नाटक किन रच्यो ?

के यो प्रशासनले नागरिकलाई फसाउन थापेको वैधानिक पासो हो ?

लाखौँ नेपालीको रगत र पसिनाबाट आएको भनिएको यो ‘गणतन्त्र’ मा एउटा नागरिकले अनुमति लिएर पनि आफ्नो आस्था प्रकट गर्न नपाउने, बोल्न नपाउने ? यदि अनुमति पत्र खल्तीमा बोकेर हिँड्दा पनि अपराधी झैँ समातिनुपर्छ भने, सम्झिनुस् देश कुन भयानक र अराजक दिशातिर जाँदैछ । प्रशासन आफैँले हस्ताक्षर गरेर दिएको पत्रलाई सडकमा गुड्ने प्रहरीले लत्याइदिन्छ भने यहाँ विधिको शासन कहाँ छ ?

यस्तो दोधारे र कायर चरित्र बोकेको राज्य व्यवस्थाले नागरिकको सुरक्षा गर्छ भनेर कसरी पत्याउने ? आफ्नो गल्ती लुकाउन र नागरिकको आवाज दबाउन प्रशासन कतिसम्म नाङ्गो नाच नाच्न सक्छ भन्ने प्रमाण यही पत्र र मेरो पक्राउ हो । तपाईंहरू जतिसुकै डण्डा बर्साउनुस्, जतिसुकै थुन्नुस्। तर याद राख्नुस्, राज्यको यो लाचारीपन, दमन र कायरताले हाम्रो आवाज र हाम्रो निष्ठालाई कहिल्यै दबाउन सक्ने छैन। आज म पक्राउ परेँ, भोलि तपाईंको पालो आउन सक्छ। यस राज्य प्रायोजित अन्यायविरुद्ध अब नबोल्ने हो भने भोलि सोध्ने अधिकार पनि बाँकी रहने छैन ! ‘सत्ताको न्यानो आसनमा बसेर मेरै विरुद्ध हतकडी तयार गर्नेहरूलाई एउटै कुरा भन्नु छ, यो सत्ता तिमीहरूले जितेको होइन, मेरो आन्दोलनले उपहार दिएको हो ! हिजोकाले पनि थुने, आज तिमीहरूले पनि थुन्यौ । तर याद राख, समयको चक्र घुमिरहन्छ। पालो सबैको आउँछ, आउँछ । फेरि पनि भन्छु

सत्ताको आडमा मलाई हिरासतमा राख्नेहरूले के ठानेका छन् ? म एक्लो छु ? म माता पाथीभराको भक्त हुँ। ममाथि भएको यो अन्याय माताले हेरिरहनुभएको छ। हेक्का रहोस्, माताको शक्ति प्रकट हुने दिन तिमीहरूको पतनको दिन हुनेछ। दिन सबैको आउँछ, तिमीहरूको पनि छिट्टै आउनेछ ! जय माँ पाथीभरा

हिरासतबाट राज्यलाई खुल्ला पत्र १ सचिवालय को सहयोग बाट !!

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं। दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुने भएको छ । न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासमा उक्त रिटको पेशी तोकिएको हो ।

यसअघि बुधबार न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै प्रसाईंलाई पक्राउ गरी थुनामा राख्नुको कारण पेश गर्न आदेश दिएको थियो ।

दुर्गा प्रसाईंलाई मंगलबार पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरिएको हो । पर्सा प्रहरीले उनलाई नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

प्रसाईंको तर्फबाट अधिवक्ता आशिष लुइटेलले जिल्ला प्रहरी कार्यालय पर्सालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।