`

रास्वपाका यी ११ सांसद बन्नेछन् संसदीय समितिका सभापति(सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ । आज सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले समितिको सभापतिको उम्मेदवार टुंग्याएको हो ।

सार्वजनिक लेखा समिति सभापति भने प्रमुख प्रतिपक्षी दललाई राखिएको छ ।

कुन समितिमा को ?

१) कानुन, न्याय तथा मानवअधिकार समिति- समीक्षा बास्कोटा

२) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति- अशोककुमार चौधरी

३) पूर्वाधार विकास समिति- आशिष गजुरेल

४) महिला तथा सामाजिक मामिला समिति- आकृति अवस्थी

५) राज्य व्यवस्था तथा सुशासन समिति- हरि ढकाल

६) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति- ओजश्वी शेरचन

७) सार्वजनिक लेखा समिति- प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)

८) १२) संसदीय सुनुवाइ- बोधनारायण श्रेष्ठ

९) उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति- रहबर अन्सारी

१०) राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन- गणेश कार्की

११) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति- सुम्नीमा उदास

१२) अर्थ समिति- कृष्णहरि बुढाथोकी

एलओडी विश्वकै उत्कृष्ट ४० क्लबमा

काठमाडौं । ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४० औँ स्थानमा परेको छ । 

बेलायतस्थित प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’ द्वारा सार्वजनिक ‘उत्कृष्ट सय क्लबहरू’ सूचीमा एलओडी ४० औँ स्थानमा परेको हो ।

प्रतिवर्ष अन्तर्राष्ट्रियस्तरका क्लबहरूबिच प्रतिस्पर्धा गराई ‘डिजे म्याग’ ले उत्कृष्ट क्लबहरूको सूची प्रकाशित गर्दै आएको छ। यस वर्षको प्रतिस्पर्धामा विश्वभरबाट पाँच सयभन्दा बढी क्लब सहभागी थिए।

भारतद्वारा एक हजार किलोमिटर लामो क्वान्टम सञ्चार नेटवर्कको प्रदर्शन

काठमाडाैं। भारतले आफ्नो ‘नेशनल क्वान्टम मिसन’ अन्तर्गत महत्वपूर्ण उपलब्धि हासिल गर्दै १,००० किलोमिटर लामो क्वान्टम सञ्चार नेटवर्कको सफल परीक्षण गरेको छ। आठ वर्षभित्र २,००० किलोमिटर विस्तार गर्ने लक्ष्य राखिएकोमा, मिसन सुरु भएको दुई वर्ष नपुग्दै आधा लक्ष्य हासिल हुनु उल्लेखनीय प्रगति मानिएको छ। स्वदेशी प्रविधिमा आधारित यो नेटवर्क ‘क्यु-नु ल्याब्स’ नामक स्टार्टअपले विकास गरेको हो।

विज्ञान तथा प्रविधि विभागका सचिव डा. अभय करन्दिकरले यस उपलब्धिलाई ऐतिहासिक प्रगति भन्दै यसले भारतलाई सुरक्षित सञ्चार प्रविधिमा विश्वकै अग्रणी स्थानतर्फ उन्मुख गराएको बताएका छन्। यो प्रविधि विशेष गरी रक्षा, वित्तीय प्रणाली तथा अन्य संवेदनशील पूर्वाधारहरूको सुरक्षाका लागि अत्यन्त प्रभावकारी मानिन्छ। यसको विशेषता भनेको जमिनमुनि र पानीमुनिसमेत काम गर्न सक्ने क्षमता हो।

क्वान्टम सञ्चार प्रविधिमा प्रयोग हुने इन्क्रिप्शन तोड्न अत्यन्त कठिन हुने भएकाले यसले राष्ट्रिय सुरक्षा र डाटा सुरक्षालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। ‘फ्री–स्पेस’ प्रविधिमा आधारित भएकाले अप्टिकल फाइबर बिछ्याउनु नपर्ने हुँदा यो कम खर्चिलो हुनुका साथै दुर्गम तथा कठिन भूगोलमा समेत सजिलै जडान गर्न सकिन्छ।

यस सफलताबाट उत्साहित सरकारले क्वान्टम मिसन अन्तर्गत स्टार्टअपहरूको सहभागिता पनि विस्तार गरेको छ। अब १७ वटा स्टार्टअपहरूले यस क्षेत्रमा काम गर्नेछन्, जसले क्वान्टम बायो–सेन्सर, फोटोन सेन्सिङ तथा एटोमिक मेमोरी जस्ता अत्याधुनिक प्रविधिहरूको विकास गर्ने लक्ष्य राखेका छन्। सन् २०२३ मा करिब ६,००३ करोड भारुको बजेटसहित सुरु गरिएको यस मिसनले भारतको आर्थिक तथा प्राविधिक विकासमा नयाँ गति दिने अपेक्षा गरिएको छ।

 

सभापति भए पनि रविलाई बालेनले टेर्दैनन्

काठमाडौं। झण्डै दुई तिहाइ बहुमतसहित अहिले देशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार छ। रास्वपा सत्तामा पुगेपछि सभापति रवि लामिछाने सबैभन्दा प्रभावशाली नेताका रूपमा उदाएका थिए। तर, निर्वाचन परिणाम सार्वजनिक भएपछि भने पार्टीभित्रै उनको प्रभाव घट्दै गएको संकेत देखिन थालेका छन्।

निर्वाचनअघिको सहमतिअनुसार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बने। तर, सरकार सञ्चालनमा उनले पार्टीसँग पर्याप्त समन्वय नगरेको प्रश्न उठ्न थालेको छ। यसका कारण सभापति लामिछानेले गरेका केही निर्णय कार्यान्वयन हुन नसकेको मात्र होइन, संसदमा समेत उनलाई धोका दिएको आरोप बालेनमाथि छ ।

सरकारका प्रमुख निर्णयहरूमा बालेन हाबी हुँदै जाँदा लामिछानेसँगको दूरी बढ्ने जोखिम रहेको भन्दै रास्वपाका नेताहरू चिन्तित छन्। उनीहरूका अनुसार पार्टीभित्रको सन्तुलन कायम राख्न दुवै नेताबीच समन्वय बढाउन आवश्यक छ।

सरकार गठनअघि नै बालेन्द्रको नेतृत्वमा सरकार बनाउने सहमति भएको थियो। सोही आधारमा सभापति लामिछानेले शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए, जसले चुनावमा रास्वपालाई अनपेक्षित सफलता पनि दिलायो। पूर्वसहमति अनुसार चैत १३ गते बालेन्द्रको नेतृत्वमा सरकार गठन भयो।

तर, मन्त्री चयनको विषयमा भने विवाद देखियो। लामिछानेले मन्त्री छनोट आफूले गर्ने योजना बनाएका थिए र सार्वजनिक रूपमा नै सांसदहरूले मन्त्री बन्नका लागि दौडधूप गर्न नपर्ने बताएका थिए। त्यसका बाबजुद केही मन्त्रीको नियुक्ति उनको इच्छाविपरीत भयो । लामिछानेले उपसभापति डोलप्रसाद अर्याललाई गृहमन्त्री बनाउन लामिछानेले सक्दो प्रयास गरेका थिए।  तर अर्यालको नाममा बालेनले सहमति नजनाएपछि सुदन गुरुङ गृहमन्त्री नियुक्त भए।

राजनीतिक नियुक्तिहरू खारेज गर्ने विषयमा पनि लामिछाने सक्रिय थिए। उनले बारम्बार राजनीतिक नियुक्ति पाएकाहरूलाई राजीनामा दिन आग्रह गरेका थिए। पार्टीले विभिन्न निकायमा भएका करिब १ हजार १७० राजनीतिक नियुक्तिहरूको विवरण संकलन गरी खारेज गर्ने तयारी अघि बढाएको थियो। यस क्रममा नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर ल्याउने चाहना लामिछानेको थियो, तर प्रधानमन्त्री शाहले त्यसलाई अस्वीकार गरे। बरु, विद्यमान गभर्नरलाई निरन्तरता दिने निर्णय लिइयो।

सांसदहरूलाई मन्त्रालयमा सहजीकरणका लागि खटाउने विषयमा पनि दुवै नेताबीच मतभेद देखियो। प्रधानमन्त्रीले केही सांसदलाई मन्त्रालयमा खटाए पनि पार्टीले औपचारिक रूपमा यस्तो निर्णय नगरेको बताइएको छ।

उपसभामुख चयनको प्रसंगले पनि दुवैबीचको असमझदारी उजागर गर्‍यो। लामिछानेले राप्रपाका उम्मेदवारलाई उपसभामुख बनाउन चाहेका थिए।  तर त्यसमा पनि बालेन सहमत नभएपछी श्रम संस्कृतिकी रुबीकुमारी ठाकुर उपसभामुख निर्वाचित भइन्। 

सांसदहरूको अभिमुखीकरण कार्यक्रमजस्तो महत्वपूर्ण कार्यक्रममा प्रधानमन्त्री शाह अनुपस्थित रहनु पनि पार्टीभित्र असन्तोषको कारण जस्तो देखिएको छ । 

गणतन्त्रका सात पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन हुने, के होला रवि लामिछानेको ?

काठमाडाैं। सरकारले २०६२ साल यताका सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने तयारी गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०६२/०६३ यताका प्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति अनुसन्धान गर्ने निर्णय गरेसँगै गणतन्त्रका सात पूर्वप्रधानमन्त्रीहरू पनि अनुसन्धानको दायरामा आउने भएका हुन्।

सरकारको निर्णयअनुसार पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, खिलराज रेग्मी, केपी शर्मा ओली र शेरबहादुर देउवाको सम्पत्ति छानबिन गरिनेछ। देउवाबाहेक सबै गणतन्त्रपछिका प्रधानमन्त्री हुन् भने देउवा गणतन्त्र स्थापनाअघि र पछि दुवै समयमा प्रधानमन्त्री भएका व्यक्ति हुन्।

बुधबारको निर्णयअनुसार २०६२/०६३ पछि सार्वजनिक पदमा बसेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गरिने भएको हो। यस निर्णयलाई नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। २०६२/०६३ को जनआन्दोलनपछि देशमा गणतान्त्रिक व्यवस्था स्थापना भए पनि सत्ता सञ्चालनसँगै भ्रष्टाचार, अनियमितता र अवैध सम्पत्ति आर्जनबारे निरन्तर प्रश्न उठ्दै आएका थिए।

यद्यपि, ती प्रश्नहरू प्रायः राजनीतिक संरक्षण, कानुनी जटिलता तथा आवश्यक इच्छाशक्तिको अभावका कारण निष्कर्षमा पुग्न सकेका थिएनन्। यसपटक भने सरकारले उच्च तहका नेताहरूलाई नै छानबिनको दायरामा ल्याउने घोषणा गरेपछि यसलाई कडा कदमका रूपमा लिइएको छ। यसले पारदर्शिता र जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ।

तर, यस निर्णयसँगै केही जिज्ञासा र विवाद पनि उत्पन्न भएका छन्। विशेषगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जो विगतमा उपप्रधान तथा गृहमन्त्रीसमेत भइसकेका छन्, उनको हकमा के हुन्छ भन्ने विषयमा धेरैले चासो व्यक्त गरेका छन्। उनी पनि उक्त मापदण्डभित्र पर्ने कि नपर्ने भन्ने विषय अझ स्पष्ट भइसकेको छैन।

यसैबीच, आलोचकहरूले भने यो निर्णयप्रति शंका व्यक्त गरेका छन्। उनीहरूका अनुसार गणतन्त्रपछिका नेताहरूलाई सम्पत्ति छानबिनको नाममा दोषी करार गरेर वर्तमान व्यवस्थामाथि नै प्रश्न उठाउने प्रयास हुन सक्छ।

समग्रमा, सरकारको यो कदमले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। अब यसको कार्यान्वयन कसरी हुन्छ र निष्पक्षता कत्तिको कायम हुन्छ भन्ने कुरा नै यसको सफलताको प्रमुख आधार बन्ने देखिन्छ।

रास्वपा संसदीय दलको बैठक सुरु

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय समितिका सभापतिहरूका लागि उम्मेदवार तय गर्ने कार्यसूची रहेको छ।

संघीय संसद् अन्तर्गत कुल १६ वटा संसदीय समिति रहेका छन्। तीमध्ये प्रतिनिधिसभा अन्तर्गत १० वटा, राष्ट्रिय सभा अन्तर्गत ४ वटा तथा दुई वटा संयुक्त समिति रहेका छन्।

यसअघि नै राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिहरूका सभापतिहरूको निर्वाचन सम्पन्न भइसकेको छ। अब भने प्रतिनिधिसभा अन्तर्गतका १० वटा समिति र संयुक्त दुई वटा समितिका सभापतिहरूको निर्वाचन हुन बाँकी रहेको छ।

स्वास्थ्य मन्त्रालयमा सरुवा,काज फिर्ता र हेरफेर : को-को परे ?

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका उच्च कर्मचारीको सरुवा,पदस्थापन तथा काज फिर्ता गरेको छ।

स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका तीनवटा महत्त्वपूर्ण महाशाखाका प्रमुखहरू हेरफेर गरेकी हुन्।

मन्त्रालयका अनुसार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने र हालै एघारौँ तहमा बढुवा भएका डा. गुणनिधि शर्मा विभिन्न महाशाखामा आएका छन्। तर उनीहरूको ठ्याक्कै जिम्मेवारीबारे औपचारिक टुंगो भने अझै लागिसकेको छैन।

मन्त्रालयले केही वरिष्ठ चिकित्सक तथा कर्मचारीलाई विभिन्न स्वास्थ्य संस्थामा काज फिर्ता गरेको छ।

नीति योजना महाशाखामा कार्यरत डा. चुमनलाल दासलाई नारायणी अस्पताल पर्सामा पठाइएको छ। स्वास्थ्य समन्वय महाशाखाका डा. भीम सापकोटालाई हेटौँडास्थित किटजन्य प्रयोगशालामा खटाइएको छ।

त्यस्तै गुणस्तर मापन तथा निरीक्षण महाशाखाका प्रमुख डा. सरोज शर्मालाई वीर अस्पतालमै काज फिर्ता गरिएको छ। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई पनि काज फिर्ता गरी गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको छ। यद्यपि उनी हाल बोर्डमै कार्यरत रहने बताइएको छ।

मन्त्रालयले कार्यसम्पादन प्रभावकारी बनाउन र काज प्रणालीको दुरुपयोग रोक्न यो कदम चालिएको जनाएको छ। लामो समयदेखि स्वास्थ्य मन्त्रालयमा काज प्रणालीको दुरुपयोग हुँदै आएको भन्दै अब दरबन्दीअनुसार नै कर्मचारी व्यवस्थापन गर्ने उद्देश्य रहेको मन्त्रालय स्रोतले जनाएको छ।

आज सुन कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढ्दा चाँदी पनि ३० रुपैयाँले उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो भने चाँदी ५ हजार २२० रुपैयाँमा सीमित थियो।

अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा, आज एक औँस सुनको मूल्य ४ हजार ८२१ अमेरिकी डलर पुगेको छ भने चाँदीको मूल्य प्रतिऔँस ८० अमेरिकी डलर कायम रहेको छ।

रास्वपा संसदीय दलको बैठक बस्दै (तस्वीरहरु)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बिहीबार बस्दैछ।

प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन्द्र शाहको सभापतित्वमा बैठक बिहीबार दिउँसो १२:१५ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको हो ।

बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा छलफल गरिनेछ। साथै अन्य विविध विषयहरू पनि कार्यसूचीमा रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

तस्वीरहरु :

 

नेपालमा एक व्यक्तिले अधिकतम् कति जग्गा राख्न पाउछ ?

काठमाडाैं। नयाँ सरकार गठन भएपछि केही दिनअघि मन्त्रिपरिषद्का सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे । सार्वजनिक गरिएको उक्त विवरणले आम जनमानसमा चासो र बहस दुवै उत्पन्न गरेको छ। कतिपयलाई ती विवरण अस्वाभाविक र शंकास्पद समेत लागेको देखिन्छ। कतिपयले भने यो सम्पत्ति विवरण स्वभाविक नै हो भन्ने प्रतिक्रिया जनाइरहेका छन्। यही कारण मन्त्रीहरूको सम्पत्ति विवरणबारे सार्वजनिक वृत्तमा अझै पनि व्यापक चर्चा भइरहेको छ।

मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिमध्ये सबैभन्दा बढी चर्चा जग्गाको विषयले पाएको छ। नेपालमा कानुनले तोकेको सीमाभन्दा बढी जग्गा राख्न नपाइने व्यवस्था छ। तर गृहमन्त्रीकै नाममा करिब २४१ रोपनी जग्गा रहेको विवरण सार्वजनिक भएपछि यो विषय झनै चर्चाको केन्द्रमा पुगेको हो।

नेपालमा जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था भूमिसम्बन्धी ऐन, २०२१ मार्फत गरिएको छ। यस ऐनले कुनै पनि व्यक्ति वा उसको परिवारले जग्गावालाको रूपमा राख्न पाउने अधिकतम जग्गालाई ‘हदबन्दी’ भनेर परिभाषित गरेको छ। विसं २०२१ मङ्सिर १ गते लागू भएको यो ऐनमा समय-समयमा संशोधन गरिँदै आएको छ। विशेष गरी पाँचौँ संशोधनले पुरानो हदबन्दी व्यवस्थामा परिवर्तन गर्दै नयाँ सीमा निर्धारण गरेको हो।

ऐनअनुसार क्षेत्रअनुसार जग्गाको हद फरक-फरक तोकिएको छ। प्रारम्भमा देशभरि २५ बिघासम्म जग्गा राख्न पाइने व्यवस्था थियो भने पाँचौँ संशोधनपछि यो सीमा घटाएर १० बिघा कायम गरिएको छ। काठमाडौँ उपत्यकामा पहिले ५० रोपनीसम्म राख्न पाइन्थ्यो, तर संशोधनपछि २५ रोपनीमा सीमित गरिएको छ।

त्यसैगरी, काठमाडौँ उपत्यकाबाहेकका पहाडी क्षेत्रमा पहिले ८० रोपनीसम्म जग्गा राख्न पाइन्थ्यो भने संशोधनपछि ७० रोपनी कायम गरिएको छ। तराई तथा भित्री मधेश क्षेत्रमा पनि हदबन्दीको व्यवस्था फरक छ।

यद्यपि, ऐनले घरपरिवारको आवश्यकताका लागि थप जग्गा राख्न सकिने प्रावधान पनि राखेको छ। यसअनुसार तराई क्षेत्रमा अतिरिक्त १ बिघासम्म जग्गा राख्न पाइन्छ, जुन पहिले ३ बिघा थियो। काठमाडौँ उपत्यकामा थप ५ रोपनी राख्न पाइने व्यवस्था गरिएको छ, जुन अघिल्लो प्रावधानभन्दा कम हो।

त्यस्तै, काठमाडौँ उपत्यकाबाहेकका पहाडी क्षेत्रमा पहिले १६ रोपनी अतिरिक्त राख्न पाइन्थ्यो भने संशोधनपछि यो सीमा घटाएर ५ रोपनी कायम गरिएको छ।

हदबन्दीको प्रयोजनका लागि ऐनले दुई प्रकारका सीमा निर्धारण गरेको छ। पहिलो, जग्गावालाको रूपमा देशभरि तथा क्षेत्रगत आधारमा राख्न पाइने अधिकतम सीमा; र दोस्रो, मोहीको रूपमा खेती गर्न पाइने जग्गाको अधिकतम सीमा। यी व्यवस्थाहरू ऐनको दफा ७ र १० मा स्पष्ट रूपमा उल्लेख गरिएको छ।

सुनिता डंगोलद्वारा उद्घाटन,खुला मञ्च पुनः सञ्चालनमा (भिडियो)

काठमाडौं। केही समययता बन्द रहेको खुला मञ्च आजबाट पुनः सञ्चालनमा आएको छ। अब अब खुला मञ्चमा योगा, ध्यान तथा साउण्ड हिलिङजस्ता गतिविधि गर्न सकिने भएको छ।

बिहीबार बिहान काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको सहभागितामा काठमाडौँ महानगरपालिकाले खुला मञ्च पुनः खुला गरेको हो।

खुला मञ्चको उद्घाटन गर्दै डंगोलले भनिन्,’यो खुला मञ्चलाई आफ्नै घरको पार्क सम्झनुहोला। यो आजदेखि आम नागरिक सबैका लागि खुला गरिएको छ। यो ठाउँलाई आफ्नै ठाउँ मानेर, आफ्नै घरलाई जति माया गर्छौं हामीले आफ्नो घर वा छिमेकीको पार्कलाई जति माया गर्छौं, त्यसैगरी माया गर्दै यो खुलामञ्चको प्रयोग सबैजनाले गर्न अनुरोध गर्दछु’

उनले खुला मञ्च व्यवस्थापनका लागि सबैलाई आग्रह समेत गरेकी छन्।

‘यो खुलामञ्चको व्यवस्थापन र सम्हालका लागि यसलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न यहाँको कम्युनिटीको सहभागिता त्यत्तिकै आवश्यक छ। जसका लागि हामीले वडा नम्बर २७ र २८ का विभिन्न सरोकारवाला निकायहरूसँग पनि सहकार्य गर्नेछौँ’ उनले भनिन्।

यसअघि बालेन्द्र शाह मेयर रहेका बेला खुला मञ्चभित्रका अस्थायी संरचना हटाएर दुबो रोप्ने काम गरिएको थियो। महानगरले अहिले सो स्थानलाई सार्वजनिक प्रयोगका लागि व्यवस्थित गर्दै स्वास्थ्य र मानसिक सन्तुलनसँग सम्बन्धित गतिविधिमा केन्द्रित गर्ने योजना अघि बढाएको जनाएको छ।

कम्बोडियाबाट ४६ नेपालीको उद्धार

काठमाडौं। थाइल्यान्डस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपाली नागरिकको उद्धार गरेको छ। उद्धार गरिएका सबैलाई सुरक्षित रूपमा स्वदेश फर्काइएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न माध्यमबाट कम्बोडिया पुगेका ती नेपालीलाई त्यहाँ गैरकानुनी काममा लगाइएको सूचना प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरिएको हो।

दूतावासका तथ्याङ्कअनुसार सन् २०२१ मा १०१ जना, २०२२ मा १,९७७ जना, २०२३ मा २,९४० जना, २०२४ मा ६,४०४ जना तथा सन् २०२५ मा ९,६७६ जना नेपाली रोजगारीको खोजीमा कम्बोडिया पुगेका छन्।

दूतावासले श्रम स्वीकृति बिना कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड नजान नेपाली नागरिकलाई आग्रह गरेको छ। वैदेशिक रोजगारीका नाममा हुने ठगी र जोखिमबाट बच्न आवश्यक प्रक्रिया पूरा गरेर मात्र विदेश जान अनुरोध गरिएको छ।

पुलमुनि शिशुको शव फेला, एक जना पक्राउ

झापा। झापाको शिवसताक्षी नगरपालिका-३ स्थित भोटे पुलमुनि नवजात शिशुको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार राति नवजात शिशुको शव फेला परेको हो। स्थानीयले जानकारी गराएलगत्तै प्रहरी चौकी धरमपुरबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्ता छन् रास्वपाको संगठन विभागका निर्णय

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय संगठन विभागको बैठकबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ। पार्टीले गत चैत २१ गतेको बैठक तथा त्यसपश्चात् भएका नियमित छलफलबाट आएका निर्णयहरू सार्वजनिक गरेको जनाएको हो।

सार्वजनिक निर्णयअनुसार पार्टी सदस्यता वितरणलाई अनलाइन र अफलाइन दुवै माध्यमबाट प्रभावकारी बनाउने योजना अघि सारिएको छ। साथै, पार्टी हितविपरीत गतिविधिमा संलग्न सदस्यलाई कारबाही गर्ने निर्णय पनि गरिएको छ।

त्यसैगरी, पार्टीको संगठन सुदृढीकरणका लागि वडा र जिल्ला तहका अधिवेशनहरू सुरु गर्ने तयारी समेत गरिएको रास्वपाले जनाएको छ।

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रीमण्डल स्वर्णिम भईरहँदा नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला १०० र चाँदी ३० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २५० कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २२० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२१ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु

धनगढी । कैलालीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।

बुधबार राति लम्कीचुहा नगरपालिका-५, चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ६ वर्षीया डिनल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राति करिब पौने ९ बजेतिर घर नजिकै सडकमा खेलिरहेकी अवस्थामा उनलाई ट्याक्टरले ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी डिनललाई तत्काल उपचारका लागि बर्दगोरिया अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्याक्टर र चालक, लम्कीचुहा नगरपालिका–५ का ३७ वर्षीय रामबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अमेरिका-इरान वार्ता : इरानको ४४० किलो युरेनियममा मिलेन कुरो

एजेन्सी। अमेरिकाइरान बीच जारी वार्तामा महत्वपूर्ण प्रगति हुने संकेत देखिएको छ। यस प्रक्रियामा पाकिस्तानले निर्णायक मध्यस्थकर्ताको भूमिका खेलेको बताइएको छ।

अलजजिराको रिपोर्टअनुसार पाकिस्तानी स्रोतहरूले इरानको आणविक कार्यक्रमसम्बन्धी सम्झौतामा ‘ठूलो ब्रेकथ्रु’ भएको दाबी गरेका छन्। वार्तालाई सहज बनाउन पाकिस्तानले दुवै पक्षबीच सन्देश आदानप्रदान र समन्वयमा सक्रिय भूमिका खेलेको जनाइएको छ।

वार्ताको मुख्य एजेन्डा इरानको आणविक कार्यक्रम रहेको छ। अमेरिका इरानको आणविक गतिविधिमा नियन्त्रण चाहन्छ भने इरानले आफूविरुद्ध लगाइएका प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै आएको छ।

पाकिस्तानी स्रोतहरूका अनुसार दुवै पक्ष केही महत्वपूर्ण बुँदामा नजिक पुगेका छन्, जसले छिट्टै सहमति हुनसक्ने संकेत दिएको छ। यद्यपि, आधिकारिक रूपमा अन्तिम सम्झौता भएको पुष्टि भने भइसकेको छैन।

पाकिस्तानी सेनापति आसिम मुनिरको नेतृत्वमा प्रतिनिधिमण्डल तेहरान पुगेको छ। त्यहाँ इरानी विदेशमन्त्री अब्बास अरागची सँग भेटघाट भएको बताइएको छ। इरानको प्रेस टिभीका अनुसार पाकिस्तानी टोलीले अमेरिकी सन्देश इरानी नेतृत्वसम्म पुर्‍याउने र दोस्रो चरणको वार्ताका लागि आधार तयार पार्ने प्रयास गरिरहेको छ।

वार्तामा सबैभन्दा जटिल विषय इरानले युरेनियम संवर्द्धन कति समयसम्म रोक्ने भन्ने हो, जसमा दुवै पक्षबीच सहमति बन्न अझै कठिनाइ देखिएको छ। त्यस्तै, इरानसँग रहेको करिब ४४० किलोग्राम    युरेनियमको व्यवस्थापन पनि विवादकै केन्द्रमा छ। उक्त युरेनियमलाई अन्य देशमा पठाउने, पुनः कम स्तरमा झार्ने वा सीमित प्रतिशतमा राख्ने विषयमा छलफल भइरहेको छ।

दीपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

काठमाडौं । पूर्वमन्त्री दीपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। उक्त मुद्दाको पेसी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासमा परेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा गत चैत १५ गते पक्राउ परेका खड्कालाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी विनिता थापाले रिहाइको मागसहित रिट दायर गरेकी हुन्।

यसअघि बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले राजश्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतसँग पक्राउको कारणबारे लिखित जवाफ मागेको थियो। सोही आधारमा आजका लागि पेसी तोकिएको हो।

 

कालीगण्डकीमा बेपत्ता दुई जनाको शव फेला

काठमाडौं।  कालीगण्डकी नदीमा पौडी खेल्न छिरेका दुई जना पुरुषको शव फेला परेको छ।

नयाँ वर्षका दिन बगनासकाली गाउँपालिका-७ दैलातुङस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोही गाउँपालिका–९ चापपानीका ३९ वर्षीय शरण भुषाल र २९ वर्षीय तोयनाथ बस्याल बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बेपत्ता भएको भोलिपल्ट तोयनाथको शव फेला परेको हो। बगनासकाली गाउँपालिका-७ दैलातुङमै नदीको बीच भागमा बुधबार बिहान ७ः५५ बजे तोयनाथको शव फेला परेको थियो।

शरणको शव पनि बिहीबार बिहान ८ बजे नदीको बीच भागमा तैरिरहेको अवस्थामा फेला परेको डिएसपी चौधरीले जानकारी दिए। घटनास्थलबाट १५० मिटर पूर्वतर्फ उनको शव भेटिएको हो।

मंगलबार ४ जनाको समूह बनाएर उनीहरू पौडी खेल्न गएका थिए। नदीमा पसेका चार जना मध्य दुई जना बगेर बेपत्ता भएको र बाँकी दुई जनाले पौडिएर ज्यान जोगाउन सफल भएका थिए।

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो

काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ । आयल निगमले आज राती १२ बजेबाट लागू हुनेगरी मूल्य बढेको जानकारी गराएको हो ।

निगमका अनुसार, पेट्रोलको मूल्य भने यथावत राखिएको छ । त्यस्तै, आन्तरिकतर्फको हवाई मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ ।

प्रधानमन्त्री बालेन विश्वका १०० सर्वाधिक प्रभावशाली व्यक्तिको सूचीमा

काठमाडौं । टाइम म्यागजिनले प्रकाशन गरेको विश्वभरका १०० सर्वाधिक प्रभावशाली व्यक्तिहरूको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) परेका छन्।

हिप-हप कलाकारबाट राजनीतिमा प्रवेश गरी काठमाडौं महानगरपालिकाको मेयर हुँदै देशको प्रधानमन्त्रीसम्मको उनको यात्रा अन्तर्राष्ट्रियस्तरमा समेत चर्चाको विषय बनेको छ।

उनको उदयलाई म्याजिनले दक्षिण एसियाली परम्परागत राजनीतिक संरचनामाथिको चुनौतीका रूपमा व्याख्या गरेको छ । विशेषगरी युवापुस्ताको असन्तुष्टि र परिवर्तनको चाहनाले उनलाई नेतृत्वमा पुर्‍याएको बताइन्छ।

मेयरका रूपमा उनले फोहोर व्यवस्थापन, सार्वजनिक सेवा सुधार र प्रशासनिक सुधारमा देखाएको सक्रियतालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत उल्लेख गरिएको छ । तर, वास्तवमा उनीबाट यी काम पूरा भएनन् ।

सूचीमा समावेश भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक चर्चा भइरहेको छ। समर्थकहरूले यसलाई नेपालको लागि गौरवको क्षण बताएका छन् भने आलोचकहरूले अब उनको वास्तविक परीक्षा राष्ट्रिय शासनमा रहेको टिप्पणी गरेका छन्।

इरानमा पक्राउ परेका नेपाली पाइलट अमृत झाको रिहा

काठमाडौं । इरानमा पक्राउ परेका नेपाली युवा पाइलट अमृत झा रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार उनी इरानस्थित मानार्थ महावाणिज्य दूतावास र कतार दूतावाससँग सम्पर्कमा रहेका छन्।

उनलाई इरानबाट बाहिर ल्याउने काम भइरहेको पनि मन्त्री खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

झा मध्यपूर्वमा तनाव सुरु हुनुभन्दा पहिले नै पक्राउ परेका हुन्।

परराष्ट्रमन्त्री खनालले सामाजिक सञ्जाल फेसबुकमा बुधबार साँझ लेखेका छन्, ‘अमृत झा, जसलाई इरानमा नियन्त्रणमा लिइएको थियो, उनी रिहा भएका छन्। इरानस्थित हाम्रो मानार्थ वाणिज्यदूतावास र कतारस्थित नेपाली दूतावास उनीसँग सम्पर्कमा छन्। हाम्रो टोली उनलाई इरानबाट बाहिर ल्याउन काम गरिरहेको छ।’

यसैबीच, इजरायल-अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण मध्यपूर्वका विभिन्न स्थानमा मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अविवमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १९१ शव नेपाल ल्याउन बाँकी छन्।

पराजयपछि आत्मसमीक्षामा एमाले : महासचिव शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबारे पार्टी अहिले समीक्षा प्रक्रियामा रहेको बताएका छन्।

उनले निर्वाचन परिणामपछि पार्टीले औपचारिक रूपमा बहुआयामिक समिक्षा सुरु गरिसकेको जानकारी दिएका हुन्।

पोखरेलका अनुसार निर्वाचन समीक्षाको काम हाल वडा, पालिका र जिल्ला तहमा सञ्चालन भइरहेको छ।

तल्लो तहबाट प्राप्त हुने प्रतिवेदनहरू प्रदेश हुँदै केन्द्रमा आइपुगेपछि केन्द्रीय सचिवालयले एकीकृत समिक्षा प्रतिवेदन तयार गर्नेछ। त्यसपछि पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटी बैठकले समग्र मूल्याङ्कन गर्दै संस्थागत धारणा तय गर्ने तयारी गरिएको उनले उल्लेख गरेका छन्।

उनले समीक्षा प्रक्रियालाई थप व्यवस्थित बनाउन केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावलीसमेत तयार पारेको जानकारी दिएका छन्।

सो प्रश्नावलीमार्फत अगुवा कार्यकर्ताहरूबाट व्यक्तिगत सुझाव संकलन भइरहेको छ। प्राप्त सुझाव र तथ्याङ्कका आधारमा पार्टीको कमजोरी, चुनौती र सम्भावनाहरूको पहिचान गरिने पोखरेलको भनाइ छ।

निर्वाचन परिणामलाई गम्भीर रूपमा लिँदै पार्टीलाई पुनः सुदृढ र सशक्त बनाउन योजनावद्ध रूपमा पुनर्जागरण र पुनर्गठनको प्रक्रिया अघि बढाइने उनले स्पष्ट पारेका छन्। ‘समीक्षाबाट प्राप्त निष्कर्षका आधारमा पार्टीलाई नयाँ ऊर्जा र दिशासहित अघि बढाइनेछ,’ उनले आफ्नो स्टाटसमा उल्लेख गरेका छन्।

यसैबीच उनले समीक्षा अवधिमा पार्टीविरुद्ध भइरहेका नकारात्मक प्रचारप्रति पनि ध्यानाकर्षण गराएका छन्।

नियोजित तथा प्रायोजित रूपमा पार्टीलाई विवादित र कमजोर बनाउन खोजिएको दाबी गर्दै उनले त्यस्ता गतिविधिबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरेका छन्।

पोखरेलले पार्टीभित्रको समीक्षा प्रक्रिया नै भविष्यको मार्गचित्र निर्माण गर्ने आधार हुने उल्लेख गर्दै सबै तहका नेता–कार्यकर्तालाई जिम्मेवार ढंगले आफ्नो धारणा राख्न र संगठन सुदृढीकरणमा जुट्न आह्वान गरेका छन्।

के कांग्रेस फेरि फुट्न लागेको हो ?

काठमाडौं । नेपाली कांग्रेस भित्रको शक्ति संघर्ष र आन्तरिक विवाद एकचोटी फेरि उत्कर्षमा छ।  जुन सार्वजनिक र राजनीतिक वृत्तमा छताछुल्ल छ। यही बिचमा नेपाली कांग्रेसले पार्टीभित्र देखिएको विवाद समाधानका लागि पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग संवाद सुरु गर्ने निर्णय गरेको छ।

आज बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले महाधिवेशनको वातावरण निर्माण गर्न असन्तुष्ट पक्षसँग छलफल अघि बढाउने निर्णय भएको जानकारी दिए।

उनका अनुसार पार्टी सभापति गगन थापाले स्वयं पूर्वपदाधिकारीसहित सबै शीर्ष नेताहरूसँग संवाद गर्नेछन्। 

आजै कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीका नेता पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर खड्काले भने अवैधानिक समितिले दिएको निर्देशन नमान्ने प्रतिक्रिया दिएका छन्। 

 नेता खड्काले यसअघि पनि पार्टीमा अनधिकृत रुपमा वक्तव्य जारी गरेको भन्दै सचेत गराइएको थियो । खड्काले गत सोमवार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टीको क्रियाशील सदस्यता खारेज भएको घोषणाप्रति आपत्ति जनाएका थिए ।

 विज्ञप्ति लगत्तै कांग्रेसले केन्द्रिय अनुशासन समितिको बैठक बोलाएको थियो । १८ चैतमा बसेको अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरे कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । 

खड्काले १४ चैतमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सरकारबाट भएको पक्राउको विरोध गरेका थिए । त्यसपछि उनले १७ चैतमा कार्यवाहक सभापतिको हैसियतमै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमितिको बैठक बोलाएर दुई दिन छलफल गरेका थिए ।

कांग्रेसमा २१ फागुनको निर्वाचन यता निरन्तर विवाद देखिदै आएको छ।  विभिन्न गुट उपगुटका नाममा हुने भेला, कार्यक्रमले काङ्ग्रेसभित्रको विवाद दिनप्रतिदिन झन् झन् चुलिदै गएको छ। 

कांग्रेसमा गगन थापा नेतृत्वको कार्यसमितिका अलावा अचेल कहिले शेखर कोइराला, कहिले पूर्णबहादुर खड्का, कहिले कृष्णप्रसाद सिटौलाले अलग अलग भेला बोलाउने गरेका छन्।  विशेषत: कांग्रेसभित्र यो विवाद २१ फागुनको निर्वाचन यता देखिदै आएको छ। 

गत माघ २८- २९ मा काठमाडौँका भृकुटीमण्डपमा कांग्रेसको दोस्रो विशेष महाधिवेशन सम्पन्न भएको थियो।  गगन थापा उक्त महाधिवेशनबाट कान्म्ग्रेसा सभापतिमा निर्वाचित भएका थिए।  उनकै नेतृत्वमा काङ्ग्रेस प्रतिनिधिसभा निर्वाचनमा सहभागी समेत बन्यो।  

तर थापाको नेतृत्वमा चुनावमा सहभागी भएको कांग्रेसले इतिहासकै गम्भीर धक्का खायो। सभापति आफै पराजित भएको यो चुनावमा कांग्रेसले जम्मा ३८ सिट मात्रै जित्यो।  यसले विशेष महाधिवेशनमा असन्तुष्ट पक्षलाई झन् आक्रोशित बनायो। जसको परिणाम स्वरुप अहिले काङ्ग्रेसभित्रको विवाद उत्कर्षमा पुर्याएको छ। 

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले अहिले साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

जसअनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको बालेनको सचिवालयले जनाएको छ ।

 

एपोलो हाइड्रोपावरकाे आईपीओमा ४१.९५ गुणा बढी आवेदन

काठमाडौं। एपोलो हाइड्रोपावर लिमिटेडकाे आईपीओमा ४१.९५ गुणा बढी आवेदन परेको छ । चैत २६ गतेदेखि निष्काशन भएकाे उक्त  आईपीओमा आवेदन दिने अन्तिम दिन वैशाख २ गते बुधबार साँझ ५ बजेसम्म ४१.९५ गुणा बढीले आवेदन दिएकाे सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । 

सीडीएससीका अनुसार कम्पनीले सर्वसाधारणका लागि  ७ लाख ८० हजार २०० कित्ता शेयर निष्काशन गरेको थियाे । जहाँ  २८ लाख ७५ हजार ३७२ जनाले ३ कराेड २७ लाख ३२ हजार ९३० कित्ताका लागि आवेदन दिएका छन् । उक्त आईपीओ ७८ हजार २० जनाले १० कित्ताका दरले पाउँने छन् । बाँकी आवेदककाे हात खाली हुनेछ । 

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ४ लाख ७० हजार कित्ता स्थानीय बासिन्दा र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट भइसकेको छ। साथै, ३७ हजार कित्ता सामूहिक लगानी कोष र १८ हजार ८०० कित्ता कर्मचारीका लागि छुट्याइएको शेयर पनि वितरण भइसकेको कम्पनीले जनाएको छ।

बाँकी रहेको ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो, जसको कुल रकम ७ करोड ८० लाख २० हजार रुपैयाँ हुन्छ। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँटपछि भइसकेकाे छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले सञ्चालन गरिरहेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजनाको अनुमानित कुल लागत १ अर्ब ३७ करोड २० लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत २२ करोड ८६ लाख रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष तथा छुट दरमा १६.४३ वर्ष रहेको कम्पनीले जनाएको छ।

पाँचथरको विकास योजनामा बजेट माग गर्दै आङदेम्बेले प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले गृह जिल्ला पाँचथरको विकासका लागि आगामी आर्थिक वर्ष २०८३/०८४ का विभिन्न योजनामा बजेट विनियोजन गर्न माग गरेका छन्।

उनले पाँचथरको काउले, चरीभञ्याङ, वारेबुङ र ओयाम स्कुल जोड्ने सडक कालोपत्रे गर्ने योजनालाई आगामी बजेटमा समावेश गर्न माग गरेका छन्। उक्त आयोजना फालेलुङ र याङवरक गाउँपालिका क्षेत्रसँग सम्बन्धित रहेको उल्लेख छ।

त्यसैगरी, छ नं बुधबारे, दुर्दिम्बा, सोमबारे, टोखा हुँदै नावाखोला र तमोर करिडोर जोड्ने सडक (सोमबारे खण्ड) स्तरोन्नति तथा कालोपत्रे गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। यो योजना मिक्लाजुङ–८ र तुम्बेवा-२ क्षेत्रमा पर्ने जनाइएको छ।

नवमीडाँडा, लुङचक्रो, सिस्नेरी हुँदै मेहेलबोटे सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने अर्को योजना पनि आगामी आर्थिक वर्षको विकास कार्यक्रममा समावेश गर्न उनले सरकारसँग अनुरोध गरेका छन्।

सांसद आङदेम्बेले यी सबै योजनाहरू पाँचथरको दुर्गम क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै समयमै बजेट विनियोजन गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

काठमाडौं। राष्ट्रिय पञ्जीकरणसँग सम्बन्धित सूचनाहरूलाई नागरिक एपमा एकीकृत गर्ने प्रक्रिया अघि बढाइएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका विवरणहरूलाई एउटै प्रणालीमा समेट्ने काम सुरु गरिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिएका छन्।

उनका अनुसार हाल यी तथ्यांकहरूको एकीकरणका लागि प्रारम्भिक चरणको काम भइरहेको छ र केही समयभित्रै यसलाई कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ। एकीकरण सम्पन्न भएपछि जन्म तथा विवाह दर्ताजस्ता प्रमाणपत्रहरू पनि नागरिक एपमार्फत सहज रूपमा उपलब्ध हुनेछन्।

सरकारले पछिल्लो समय डिजिटल सुशासनलाई बलियो बनाउने उद्देश्यले नागरिक सेवाहरूलाई अनलाइन माध्यमबाट विस्तार गर्ने अभियानलाई तीव्रता दिएको छ। यसै क्रममा निजामती कर्मचारीहरूको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीहरूको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) समेत नागरिक एपबाटै उपलब्ध गराउने व्यवस्था अन्तिम चरणमा पुगेको विभागले जनाएको छ।

पाँचथरको अलपत्र विकासे आयोजनामा प्रधानमन्त्री बालेनसँग मागे आङ्देम्बेले बजेट

काठमाडौं । कांग्रेस सांसद भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई पाँचथरको अलपत्र परेका विभिन्न विकासे आयोजनाबारे ध्यानाकर्षण गराउँदै बजेट व्यवस्थापन गर्न माग गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत बुझाइएको ध्यानाकर्षण पत्रमा उनले राँके-रवि-६ नम्बर बुधबारे-भेडेटार सडक निर्माणमा भइरहेको ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।

उक्त सडक पूर्वी पहाडी क्षेत्रको यातायात सञ्जालका लागि अत्यन्त महत्वपूर्ण भएकाले निर्माण कार्यलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ।

आङदेम्बेले पाँचथरको सदरमुकाम फिदिममा यातायात कार्यालय स्थापना गर्न पनि माग गरेका छन्।

उनका अनुसार सो कार्यालयमार्फत सवारी दर्ता, नवीकरण, जाँचपास, रुट अनुमति तथा नयाँ लाइसेन्स वितरण सेवा सञ्चालन गर्न सकिन्छ ।

यसले पाँचथरसँगै ताप्लेजुङ, तेह्रथुम र इलामका केही क्षेत्रका नागरिकलाई सेवा सहज हुने उनले उल्लेख गरेका छन्।

त्यसैगरी, तुम्बेवा र कुम्मायक गाउँपालिकामा सञ्चालनमा रहेका तमोर लिफ्ट खानेपानी योजनाका उपभोक्तालाई विद्युत महसुल छुट दिन तथा सुख्खा क्षेत्रका लागि खानेपानी व्यवस्थापन गर्न आवश्यक बजेटको व्यवस्था गर्न पनि उनले सरकारसँग माग गरेका छन्।

सांसद आङदेम्बेले पाँचथरको तुम्बेवा, कुम्मायक, हिलिहाङलगायतका क्षेत्रहरूमा सुख्खा क्षेत्र ‘विशेष कृषि प्याकेज’ कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि बजेट विनियोजन गर्न आग्रह गरेका छन्।

उनले पाँचथरका दुई मोटरेबल पुल पुनर्निर्माणका लागि पनि सरकारको ध्यानाकर्षण गराएका छन्। बजेट शीर्षक नम्बर ३३७०११२२ अन्तर्गत पर्ने यी योजनामा फालेलुङ गाउँपालिकाको धर्मेटार-मुवाखोला पुल र फाल्गुनन्द गाउँपालिकाको निबुखोला पुल समावेश छन्।

मुवाखोला पुल २०८१ असारमा सम्पन्न भए पनि सोही वर्ष असोज १२ गते आएको बाढीले बगाएको थियो। त्यस्तै, निबुखोला पुल २०८२ जेठमा सम्पन्न भए पनि असोज १९ गतेको बाढीले क्षति पुर्‍याएको उल्लेख छ।

दुवै पुल प्राकृतिक विपत्तिका कारण क्षति भएको अवस्थामा डीएलपी अवधिमा निर्माण कम्पनीको दायित्व नपर्ने कानुनी व्यवस्था रहेको भन्दै आङदेम्बेले पुनर्निर्माणका लागि आवश्यक बजेट यही वर्षभित्र उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा एक कप कफी ‘फ्री’ मा

काठमाडौं। एनसेल र हिमालयन जाभा कफीबीचको सहकार्यमा नयाँ वर्ष २०८३ देखि विशेष अफर सुरु गरिएको छ। यस अफरअन्तर्गत एनसेलका ग्राहकहरूले देशभर रहेका हिमालयन जाभाका आउटलेटहरूमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा आकर्षक छुट पाउनेछन्।

हालै सम्पन्न साझेदारी सम्झौताअनुसार, ४९९ रुपैयाँ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्ने ग्राहकहरूले एक कप कफी खरिद गर्दा अर्को कप निःशुल्क पाउनेछन्। साथै तेस्रो कप खरिद गर्दा ३० प्रतिशत छुट पनि उपलब्ध हुनेछ।

त्यसैगरी, २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकहरूले ९९ रुपैयाँ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा सबै प्रकारका खानेकुरा र पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन्। अन्य ग्राहकहरूले पनि ९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक वा रेन्टल प्लान प्रयोग गर्दा १० प्रतिशतसम्म छुट लिन सक्नेछन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यो सहकार्यले ग्राहकहरूलाई दैनिकीबाट केही समय निकालेर आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर दिने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार यस्तो अफरले कफीको अनुभवलाई अझ अर्थपूर्ण बनाउनेछ।

त्यस्तै, हिमालयन जाभा कफीका संस्थापक आनन्द गुरुङले पनि यस सहकार्यमार्फत देशभरका कफी पारखीहरूका लागि आकर्षक अफर ल्याउन पाउँदा खुशी व्यक्त गरेका छन्।

यो अफर उपयोग गर्न कुनै जटिल प्रक्रिया आवश्यक छैन। ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेस’ सेक्सनमा गएर ‘हिमालयन जाभा कफी’ चयन गरी आफ्नो योग्यता जाँच गर्न सक्छन्। अर्डर गर्ने बेला एनसेल एपको ‘लाइभ’ स्क्रिन देखाउनुपर्ने हुन्छ भने स्क्रिनसट मान्य हुने छैन।

एउटा बिलमा एउटा मात्र छुट लागू हुनेछ र ग्राहकको योग्यताअनुसार उपलब्ध सबैभन्दा बढी छुट स्वतः लागू हुनेछ। प्याक सक्रिय रहेको अवधिभर ग्राहकहरूले यो अफर बारम्बार प्रयोग गर्न सक्नेछन्।

यस सहकार्यले ग्राहकहरूलाई आफ्नो विद्यमान प्लानमा कुनै परिवर्तन नगरी थप सुविधा उपलब्ध गराएको छ। थप जानकारी एनसेलको वेबसाइट वा मोबाइल एपमार्फत प्राप्त गर्न सकिनेछ।

प्रधानमन्त्री बालेनलाई किन सचेत गराए कांग्रेस सांसद आङ्देम्बेले ?

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बोलाएको बैठकमा समानुपातिक सांसदहरूलाई ‘क्लस्टरवाइज’ रूपमा बोल्न भनिएकोप्रति गम्भीर आपत्ति जनाएका छन् ।

उनले संविधानप्रदत्त मिश्रित निर्वाचन प्रणालीको सम्मान गर्न प्रधानमन्त्री बालेनलाई सचेत पनि गराए ।

सबै सांसद राष्ट्रका प्रतिनिधि भएकाले उनीहरूको भूमिका कुनै एक ‘क्लस्टर’मा सीमित गर्न नहुने भन्दै उनले बैठकमा भने, ‘खस–आर्यले खस आर्यको मात्रै, दलितले दलितको मात्रै कुरा गर्ने हुन्छ ? त्यो गलतै हो । तपाईंले संविधानप्रदत्त मिश्रित निर्वाचन प्रणालीको सम्मान गर्नुपर्छ ।’

उनले प्रधानमन्त्री बालेनलाई अहिले संविधान संशोधन गर्ने बेला भएकाले सांसदको व्यक्तिगत विचार लिने भन्दा पनि निर्वाचनको बेला प्रतिबद्धतापत्रमा उल्लिखित पार्टीहरूले औँल्याएका संशोधनसम्बन्धी विषयहरूलाई समेट्न सुझाए ।

निर्वाचन प्रणालीमा संशोधन के कसरी गर्ने भन्नेबारे थप जानकारी संवैधानिक आयोगहरू आदिवासी जनजाति आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय महिला आयोगजस्ता आयोगबाट लिन सांसद आङ्देम्बेले आग्रह गरे ।

तर, संविधान संशोधन संवेदनशील विषय भन्दै हतारमा गर्न नहुने उनको भनाइ छ । ‘थप मसिनो गरी छलफल र बहस गरी टुंगोमा पुग्नुपर्छ । एउटा व्यक्तिले निर्णय गरेर हतारमा संशोधन गर्नु हुँदैन । व्यापक छलफल र बहस गरिकन संविधान संशोधन गर्ने सन्दर्भमा निचोडमा पुग्नुपर्छ,’ आङ्देम्बेले बैठकमा भने ।

बैठकमा सहभागी एमालेसहित अन्य दलका समानुपातिक सांसदहरूले पनि आङ्देम्बेले जस्तै ‘क्लस्टरवाइज’ कुरा राख्न प्रधानमन्त्री बालेनले राखेको आग्रहको प्रतिवाद गरेका थिए ।

आठ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं । आठ किलोभन्दा बढी गाँजासहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २२ वर्षीय भारतीय नागरिक अक्षय कुमार रहेका छन्। उनलाई मंगलबार राति विमानस्थल सुरक्षा कार्यालय र लागु औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

उनको साथबाट ८ किलो ५६० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। उनी थाई एयरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए।

पक्राउ परेका कुमारमाथि लागु औषध नियन्त्रण ब्युरोले थप अनुसन्धान अघि बढाएको छ।

९ जना पक्राउ

काठमाडौं। मलेसियाको अध्यागमन विभागले आप्रवासी कामदारका नक्कली कागजात तयार गरेको आरोपमा ३ नेपालीसहित ९ जनालाई पक्राउ गरेको छ।

विभागले राजधानी क्वालालम्पुर आसपासका ६ स्थानमा सोमबार र मंगलबार सञ्चालन गरेको कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा ३ नेपाली, ३ भारतीय, १ बङ्गलादेशी, १ मलेसियाली पुरुष र १ भियतनामी महिला (कम्पनी निर्देशक) रहेका छन्। उनीहरूको उमेर २६ देखि ६१ वर्षको बीचमा रहेको जनाइएको छ।

अध्यागमन विभागका महानिर्देशक जाकारिया शअबानका अनुसार उक्त गिरोह करिब ७ वर्षदेखि सक्रिय रहेको थियो। सार्वजनिक सूचना र सञ्चार माध्यमका आधारमा करिब ६ महिनासम्म गरिएको अनुसन्धानपछि कारबाही गरिएको उनले बताए।

उनका अनुसार सो समूहले यस अवधिमा करिब १० करोड मलेसियन रिङ्गेट बराबरको अवैध आम्दानी गरेको अनुमान गरिएको छ। उनीहरूबाट ई-पास, सुरक्षा स्टिकर तथा सम्बन्धित स्लिपसहितका अध्यागमनसम्बन्धी नक्कली तथा परिमार्जित कागजात बरामद गरिएको छ।

त्यसैगरी विभिन्न देशका १११ वटा राहदानी, १० थान ल्यापटप, ६ थान मोबाइल फोन र करिब ४ हजार रिङ्गेट नगद पनि बरामद गरिएको जनाइएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त गिरोहले अवैध रूपमा विदेशी नागरिकलाई मलेसिया भित्र्याउने कार्यसमेत गर्दै आएको हुनसक्ने देखिएको छ। प्रत्येक व्यक्तिबाट ५ हजारदेखि ६ हजार रिङ्गेटसम्म असुल्ने गरिएको खुलेको अधिकारीहरूले बताएका छन्।

नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं। बुधबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ।

नेप्से ३३.२७ अंकले बढेर २,८६६.८७ विन्दुमा बन्द भएको हो। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ।

सोमबार ८ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १० अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३४४ कम्पनीका दुई करोड ६४ लाख ३८ हजार ५२१ कित्ता सेयर किनबेच भएका छन्।

बुधबार २२१ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको मूल्य घटेको छ भने तीन कम्पनी स्थिर रहेका छन्। यस दिन सात कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

रिज लाइफ इनर्जी, सूर्यकुण्ड हाइड्रो, होटल फरेस्ट इन, सिन्धु विकास बैंक र पाल्पा सिमेन्टको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। सुपर खुदी हाइड्रोपावरको ९.९९ प्रतिशत र शिखर पावरको ९.९७ प्रतिशतले मूल्य बढेको छ।

त्यस्तै, सबैभन्दा धेरै घट्नेमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ, जसको सेयर मूल्य ५.६१ प्रतिशतले घटेर प्रति कित्ता ४,५३० रुपैयाँमा झरेको छ। उपकार लघुवित्तको मूल्य पनि ४.४४ प्रतिशतले घट्दै प्रति कित्ता ३,१४४ रुपैयाँमा सीमित भएको छ।

बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको सेयर मूल्य ७०८ रुपैयाँमा ५८ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो, जुन अघिल्लो दिनको तुलनामा २.९१ प्रतिशतले वृद्धि हो।

सर्वाधिक कारोबार हुने दोस्रो स्थानमा नेसनल हाइड्रोपावर रह्यो। उक्त कम्पनीको सेयर ३२४ रुपैयाँ ९० पैसामा ५७ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक उकालो लागेको हो। यसमध्ये होटल्स समूहको परिसूचक सर्वाधिक ३.१६ प्रतिशतले वृद्धि भएको छ।

यी ६ टोलीले खेल्दैछन् यो वर्षको जय ट्रफी

काठमाडाैं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट ६ टोलीले यस वर्षको जय ट्रफीमा स्थान बनाएका छन्। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणका खेल सकिएसँगै जय ट्रफी खेल्ने टोलीको पनि टुङ्गो लागेको हो। 

आगामी संस्करणको जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष ६ टोली आर्मी, सुदूरपश्चिम, एपिएफ, मधेश, लुम्बिनी र पुलिसले प्रतिस्पर्धा गर्ने भएका छन्।

सहभागी १० टोलीले एकअर्काविरुद्ध नौ-नौ खेल खेलेसँगै प्रतियोगिताको लिग चरण सम्पन्न भएको छ।

लिग चरणका कुल ४४ खेलमध्ये त्रिभुवन आर्मी क्लब एक्लो अपराजित टोली बनेको छ। आर्मीको एक खेल वर्षाका कारण रद्द भए पनि आठ खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो।

आर्मीले अन्तिम खेलमा बुधबार लुम्बिनी प्रदेशलाई एक विकेटले पराजित गरेको थियो। सोही दिन मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई चार विकेटले हराएको थियो।

दोस्रो स्थानमा सुदूरपश्चिम प्रदेश रह्यो। उसले नौ खेलबाट १२ अंक जोड्दै उपविजेता स्थान सुरक्षित गरेको हो। अब आर्मी र सुदूरपश्चिमबीच शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

तेस्रो स्थानमा एपिएफ क्लब ११ अंकसहित रह्यो भने समान अंक भए पनि मधेश प्रदेश चौथो स्थानमा सीमित भयो। लुम्बिनी प्रदेशले नौ अंकसहित पाँचौं स्थान हासिल गर्‍यो भने समान अंक भए पनि रनरेटका आधारमा नेपाल पुलिस क्लब छैटौं स्थानमा रह्यो।

रनरेटमा पछि पर्दै गण्डकी प्रदेश नौ अंकसहित सातौं स्थानमा रह्यो। अघिल्ला दुई संस्करणमा सहभागी बागमती प्रदेश आठ अंकसहित आठौं स्थानमा सीमित भयो। कर्णाली प्रदेशले तीन अंकसहित नवौं स्थानमा रहँदा कोशी प्रदेशले एक खेल वर्षाका कारण रद्द हुँदा एक अंक जोड्दै कुनै पनि जित निकाल्न सकेन।

 

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।

उनकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापा को इजलासले उक्त आदेश दिएको हो।

खड्का १५ चैतमा म्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका थिए।  

ओली अझै तीन दिन अस्पताल बस्नुपर्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज साँझसम्म वार्डमा सार्ने तयारी भइरहेको छ।

गत सोमबार पित्तथैलीमा रहेको ढुंगा निकालिएपछि उनी हाल आईसीयूमा उपचाररत छन्।

चिकित्सकका अनुसार ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको थियो। उपचारमा संलग्न चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।

पूर्णबहादुरले स्पष्टिकरण नदिने

काठमाडाैं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीले मागेको स्पष्टीकरणको जवाफ नदिने भएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अनुशासन समितिको बैठकले खड्कालाई सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन गर्ने निर्णय गरेको थियो।

पार्टी सभापति गगन थापाले क्रियाशील सदस्यता खारेज भएको घोषणा गर्दै सबैलाई वडा-वडामा पुगेर सदस्यता अद्यावधिक गर्न निर्देशन दिएपछि खड्का त्यस निर्णयको विपक्षमा उभिएका थिए। त्यसपछि गत चैत ३० गते कार्यवाहक सभापतिको हैसियतमा उनले विज्ञप्ति जारी गरेपछि कांग्रेसले उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो।

यसअघि चैत १४ गते पनि खड्काले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको पक्राउको विरोधमा कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति जारी गरेका थिए।

काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा २ बजेका लागि तोकिएको बैठक केही ढिलागरि सुरु भएको हो।

बैठकले संसदीय दलको नेता चयन, पार्टीको आगामी कार्यक्रम, इतर समुहको गतिविधि लगायत एजेण्डामा छलफल गर्ने छ ।

यसअघि बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

राष्ट्र बैंकले ४० अर्बको निक्षेप तान्दै

काडमाडाैं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

बजारमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले ५६ दिन अवधिका लागि उक्त रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकले अनलाइन बिडिङ प्रणालीमार्फत निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने जनाएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्।

यस उपकरणको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिने केन्द्रीय बैंकले स्पष्ट पारेको छ। संकलित निक्षेपको सावाँ तथा ब्याज भुक्तानी जेठ २७ गते गरिनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।