`

गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेरः नवनियुक्त मन्त्रीले लिए शपथ(तस्बिरहरु)

पाेखरा। गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरुहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । 

बुधवार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । यसअघि मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले नयाँ मन्त्रीहरु नियुक्त गरेका थिए। 

मुख्यमन्त्री पाण्डेले पुराना सबै मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्तगरेका छन्। ९ सदस्यीय मन्त्रीमण्डलमा नेपाली काँग्रेस र नेकपा एमालेका चार/चार जना मन्त्री छन् । काँग्रेसबाट जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ र नम्डु गुरुङ  वन तथा वातावरण मन्त्री बनेका छन् । 

यस्तै, एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन,भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी र लक्ष्मण पाण्डेस्वास्थ्यमन्त्री बनेका छन् ।

डुङ्गा डुब्दा २५० जना बेपत्ता

काठमाडौं। मलेसिया पुग्ने उद्देश्यले अन्डमान सागर हुँदै यात्रा गरिरहेका रोहिङ्ग्या शरणार्थी र बङ्गलादेशी नागरिक बोकेको डुङ्गा डुब्दा कम्तीमा २५० जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घीय निकायहरूले जनाएका छन्।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसिआर) र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)ले मंगलबार जारी गरेको संयुक्त विज्ञप्तिअनुसार बङ्गलादेशको कोक्स बजारस्थित टेकनाफ क्षेत्रबाट मलेसियातर्फ प्रस्थान गरेको उक्त डुङ्गा अन्डमान सागरमा पल्टिएको हो। दुर्घटनापछि यात्रामा रहेका सबै व्यक्ति बेपत्ता भएको आशङ्का गरिएको छ।

डुङ्गा कहिले डुबेको हो भन्नेबारे यकिन विवरण अझै प्राप्त नभएको र बुधबारसम्म खोज तथा उद्धार कार्यको अवस्थाबारे पनि स्पष्टता नआएको बताइएको छ।

प्रारम्भिक अनुमानअनुसार अत्यधिक भीड, तीव्र हावा र खराब समुद्री अवस्थाका कारण डुङ्गाले सन्तुलन गुमाएर दुर्घटना भएको हुन सक्ने देखिएको छ।

यो घटनाले रोहिङ्ग्या समुदायले भोगिरहेको दीर्घकालीन विस्थापन समस्या र सुरक्षित तथा दीगो समाधानको अभावलाई फेरि उजागर गरेको युएनएचसिआर र आइओएमले बताएका छन्। म्यान्माको राखाइन राज्यमा जारी हिंसा र अस्थिरताका कारण उनीहरूको स्वदेश फिर्ती अझै अनिश्चित बनेको छ।

त्यसैगरी, बङ्गलादेशका शरणार्थी शिविरहरूमा सीमित मानवीय सहायता, शिक्षा र रोजगारी अवसरको अभावले धेरैलाई जोखिमपूर्ण समुद्री यात्रा रोज्न बाध्य बनाइरहेको उल्लेख गरिएको छ। यस्तो परिस्थितिले मानव तस्करी र समुद्री दुर्घटनाको जोखिम थप बढाएको छ।

हाल बङ्गलादेशले म्यान्माबाट विस्थापित १० लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीलाई आश्रय दिँदै आएको छ। युएनएचसिआर र आइओएमले उनीहरूको जीवनरक्षक सहयोग सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग थप आर्थिक सहयोग र ऐक्यबद्धता बढाउन आग्रह गरेका छन्।

अन्डमान सागरमा भएको यो दुर्घटना केवल मानवीय त्रासदी मात्र नभई क्षेत्रीय शरणार्थी संकटको गहिरो स्वरूप र अन्तर्राष्ट्रिय उदासीनताको परिणामसमेत भएको टिप्पणी गरिएको छ।

के फरक छ ‘भाइब्रेन्ट ब्रिज’ र ‘बफर स्टेट’ मा ?

सरकारले मंगलबार सार्वजनिक गरेको १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको १४ नम्बरमा अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्धको आफ्नो अवधारणा तयार पारेको छ। सरकारले जारी गरेको अन्तर्राष्ट्रिय कूटनीति अन्तर्गत नेपालले अब ‘नेपाल प्रथम, नेपाली प्रथम’ अवधारणा अवलम्बन गर्नेछ।

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका दलहरूमध्ये ६ दलका घोषणापत्रबाट जारी गरिएको सरकारको मस्यौदापत्रमा यसबारे उल्लेख गरिएको छ। जहाँ नेपाल अब बफर स्टेटबाट भाइब्रेन्ट ब्रिज राष्ट्रका रूपमा रूपान्तरण हुनेछ।

यस्तो छ सरकारले जारी गरेको मस्यौदापत्रको १४ नम्बर बुँदा-:

१४. अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै बदलिँदो वैश्विक भू-राजनीति र छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न ‘सन्तुलित र गतिशील कूटनीति’ अवलम्बन गरिनेछ। नेपालका कूटनीतिक नियोगहरूको काम र जिम्मेवारी तथा नियोगको सक्रियता र नतिजा मापन गर्न वैज्ञानिक ‘पर्फरमेन्स अडिट’ प्रणाली सुरु गरिनेछ। नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ को रूपमा रूपान्तरण गरी त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीका माध्यमबाट राष्ट्रिय हित सुनिश्चित गरी नेपाललाई स्वतन्त्र, तटस्थ र विश्वशान्तिमा आधारित असंलग्न राष्ट्रको रूपमा विश्वमञ्चमा स्थापित गरिनेछ। कुनै पनि सैन्य गठजोड, हातहतियारको दौड र युद्धले शान्तिलाई बाधा पु¥याउँछ भन्ने मान्यता सहित सबैसँग सम दूरी र समनिकटताको नीति अवलम्बन गरिनेछ। सम्पूर्ण कूटनीतिको केन्द्रमा “नेपाल प्रथम: नेपाली प्रथम” को अवधारणा आत्मसात गरिनेछ। आर्थिक कूटनीतिलाई बढावा दिनुका साथै सगरमाथा संवाद जस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ। जलवायु परिवर्तन, हिमालयको संरक्षण, पर्वतीय मुद्दा र भूपरिवेष्टित राष्ट्रका साझा हितमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज सशक्त रूपमा उठाइनेछ। वैदेशिक रोजगारमा रहेका नेपाली कामदारको हकहित, सुरक्षा र सामाजिक सुरक्षाको लागि अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरिनेछ।

के फरक छ ‘भाइब्रेन्ट ब्रिज’ र ‘बफर स्टेट’ मा ?

दुई देश वा शक्ति राष्ट्रको बीचमा अवस्थित कुनै राज्य सक्रिय, गतिशील र लाभमुखी पुलका रूपमा विकास गर्ने कूटनीतिक तथा आर्थिक अवधारणा भाइब्रेन्ट ब्रिज हो। यो नीतिले भाइब्रेन्ट ब्रिजका रूपमा रहेको मुलुकलाई दुई ठूला छिमेकीबीच सहकार्य, व्यापार र सम्पर्क विस्तार गर्ने माध्यमका रूपमा स्थापित गर्न खोज्छ।

सरकारले अवलम्बन गर्न खोजेको यस अवधारणाको मुख्य उद्देश्य नेपाललाई क्षेत्रीय कनेक्टिभिटीको केन्द्र बनाउनु हो। उत्तर-दक्षिण करिडोर, रेल, सडक, ऊर्जा र डिजिटल पूर्वाधार विकासमार्फत चीन र भारतलाई जोड्दै त्रिपक्षीय आर्थिक सहकार्यलाई प्रोत्साहन गर्ने लक्ष्य यस नीतिले राख्दछ। यो किसिमको परराष्ट्र नीतिले नेपाललाई पारवहन र व्यापारिक हबको रूपमा उभ्याउने सम्भावना छ।

भाइब्रेन्ट ब्रिज अवधारणाले परम्परागत तटस्थता कायम राख्दै, दुवै छिमेकीसँग सन्तुलित, लाभमुखी र व्यावहारिक सम्बन्ध विकास गर्ने प्रयास गर्दछ। नेपाललाई भूराजनीतिक रूपमा संवेदनशील अवस्थाबाट आर्थिक रूपमा सक्षम राष्ट्रतर्फ रूपान्तरण गर्ने यो अवधारणाको लक्ष्य हुन सक्छ।

‘बफर स्टेट’

बफर स्टेट भौगोलिक रूपमा दुई प्रतिद्वन्द्वी वा सम्भावित रूपमा शत्रुतापूर्ण महाशक्तिहरूको बीचमा अवस्थित देशहरू हुन्। यसको अस्तित्वलाई कहिलेकाहीँ दुई ठूला शक्ति राष्ट्रहरूबीचको शक्ति संघर्ष रोक्ने माध्यमको रूपमा पनि लिइन्छ। बफर स्टेट दुई महाशक्तिहरूबीच पारस्परिक रूपमा सहमत हुने क्षेत्र पनि हुन सक्छ, जुन विसैन्यीकृत (डिमिलिटराइज्ड) हुन्छ।

बफर राज्यहरू आफैँमा स्वतन्त्र हुन्छन्। तिनीहरूले प्रायः तटस्थ परराष्ट्र नीति अपनाउँछन्, जसले उनीहरुलाई उपग्रह राज्यहरू (सेटेलाइट स्टेट) भन्दा फरक बनाउँछ। बफर राज्यको अवधारणा शक्ति सन्तुलन सिद्धान्तको एक प्रकार हो।

१८ औँ शताब्दीमा युरोपेली रणनीतिक र कूटनीतिक चिन्तनमा बफर राज्यको अवधारणा प्रवेश गरेको थियो। प्रथम विश्वयुद्धपछि पोल्याण्ड र चेकोस्लोभाकियाको भौगोलिक बनावट बफर राज्यकोको रुपमा परिणत भएको थियो। जुन जर्मनी र सोभियत संघ जस्ता प्रमुख शक्तिहरूका बीचमा अवस्थित थिए। बफर राज्यको अर्को उदाहरणका रूपमा लेबनानलाई लिन सकिन्छ, जसको भू-बनोट सिरिया र इजरायलका बीचमा अवस्थित छ।

युद्ध र आक्रमणका दृष्टिकोणले बफर राज्यहरू छिट्टै विजय प्राप्त गरिने र छिट्टै कब्जा गरिने भू-बनोटमा अवस्थित  रहन्छन्।

अन्तर्राष्ट्रिय राजनीतिका महाशक्तिहरूले सुरक्षित राख्न चाहेका बफर राज्यहरू अन्तर्राष्ट्रिय भूराजनीति र भू-बनोटका आधारमा उच्च जोखिममा पर्ने समूहमा पर्छन्। बफर राज्यहरूको वरिपरि रहेका क्षेत्रीय वा महाशक्तिहरूका लागि त्यस्ता राज्यहरू कब्जा गर्नु रणनीतिक रूपमा निकै सजिलो मानिन्छ।

विभिन्न महाशक्तिहरू बफर राज्यलाई प्रतिद्वन्दीसँगको प्रतिस्पर्धालाई सन्तुलनमा राख्नका लागि आफ्नो कब्जा वा अधीनस्थ बनाएर राख्न चाहन्छन्। शक्तिमहाराष्ट्रबीच प्रभाव वा नियन्त्रणका लागि प्रतिस्पर्धा नहुने भएकाले यस्ता चिन्ताहरू गैर-बफर राज्यहरूमा लागू हुँदैनन्। 

 

दुर्घटनामा दुई जनाको मृत्यु

धनगढी। कैलालीमा हाइस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ। लम्कीचुहा नगरपालिका-७ गुलरास्थित पूर्व-पश्चिम राजमार्गमा सुपप्र ०१-००१ ज १४२१ नम्बरको हाइसले सुपप्र ०१-१३ प ५१३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका-८ का ३३ वर्षीय गगन राना मगर र २४ वर्षीय पुष्प सुनारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न हाइस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका चालकको खोजी कार्य जारी रहेको छ।

२ सय २५ किलो गाँजासहित २ जना पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका-६ पटवारी क्षेत्रबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। प्रहरीले करिब २ सय २५ किलोग्राम गाँजासहित स्थानीय २० वर्षीय बिशेष माझी लगायत दुई जनालाई मंगलबार राति नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूले प्रयोग गरेको को.३० प ९४७५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पूर्णबहादुर खड्कालाई ७ दिनभित्र स्पष्टिकरण पेश गर्न कांग्रेसको निर्देशन

काठमाडौं ।नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिनभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कासँग लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

यसअघि चैत १४ गते पार्टीको लेटरहेडको दुरुपयोग गर्दै वक्तव्य जारी गरेको आरोपमा चैत १८ गते बसेको अनुशासन समितिको बैठकले उनलाई एक पटकका लागि सचेत गराएको थियो। तर त्यसपछि पनि उनले चैत ३० गते आफू हाल नभएको जिम्मेवारीसमेत उल्लेख गर्दै पार्टी जिम्मेवारीमै रहेको दाबी गरेका थिए। साथै उनले सोही सन्दर्भमा प्रेस विज्ञप्ति समेत सार्वजनिक गरेका थिए।

अनुशासन समितिका अनुसार खड्काको उक्त गतिविधि पार्टी विधान विपरीत देखिएको छ। त्यसैले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) अनुसार उनलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको हो।

के देउवा पक्षीय नेताहरु कारबाहीमा पर्दैछन् ?

काठमाडौं। नेपाली काँग्रेस केन्द्रिय अनुशासन समितिको बैठक शुरु भएको छ । 

निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेता पूर्णबहादुर खड्काले पार्टीभित्र समानान्तर गतिविधि अघि बढाएपछि स्पष्टिकरण लिने योजनासहित सो बैठक बोलाइएको हो । पार्टी मुख्यालय सानेपामा शुरु भएको बैठकमा तत्कालिन कार्यवाहक सभापति समेत रहनुभएका खड्कालाई स्पष्टिकरण सोध्ने विषयमा छलफल हुने बताइएको छ । 

नेता खड्काले यसअघि पनि पार्टीमा अनधिकृत रुपमा वक्तव्य जारी गरेको भन्दै सचेत गराइएको थियो । खड्काले गत सोमवार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टीको क्रियाशील सदस्यता खारेज भएको घोषणाप्रति आपत्ति जनाएका थिए ।

 विज्ञप्ति लगत्तै कांग्रेसले केन्द्रिय अनुशासन समितिको बैठक बोलाएको थियो । १८ चैतमा बसेको अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरे कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । 

खड्काले १४ चैतमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सरकारबाट भएको पक्राउको विरोध गरेका थिए । त्यसपछि उनले १७ चैतमा कार्यवाहक सभापतिको हैसियतमै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमितिको बैठक बोलाएर दुई दिन छलफल गरेका थिए ।

यो विवादले काङ्ग्रेस विभाजन उन्मुख देखिएको छ।  

 

अनुहारमा माटो दलादल गर्दै सांसद–सर्वसाधारण (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको अनुहारमा सर्वसाधारणहरूले माटो दलेका छन् ।

माटो खेलेर मनाइने जुडशीतल पर्वमा सहभागी उनलाई माटो दलिदिएका हुन् ।

सांसद झाले पनि सर्वसाधारणको अनुहारमा माटो दलेको भिडियोमा देखिन्छ । मिथिला संस्कृतिअन्तर्गतको पर्व जुडशीलत माटो खेलेर मनाइने गरिन्छ ।

पर्वमा सहभागी झाले प्रकृति र संस्कृतिको अनुपम मिश्रण भएको जुडशीतल पर्वले आपसी भाइचारा र सहिष्णुता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

 

सिन्दुरे जात्राले रंगिन थिमी (फोटोफिचर)

काठमाडौं । मध्यपुरथिमि क्षेत्रमा बुधबार हर्षोल्लासका साथ सिन्दुर जात्रा मनाइएको छ ।

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

ट्राफिक नियम उल्लंघन गर्ने सभामुखको गाडीलाई चिट ! (भिडियो)

काठमाडौं । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।

काठमाडौंको थापाथलीमा लेन क्रस गरेर ट्राफिक नियम उल्लंघन गरेको भन्दै सभामुख अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिक प्रहरीले चिट काटेको हो ।

एक ट्राफिक प्रहरीका अनुसार ठूला साना जो भए पनि ट्राफिक नियम उल्लंघन गरेकाले चिट काटेको बताएका छन् ।

उनका अनुसार सभामुख अर्यालको गाडीसँगै अन्य तीनवटा सवारीलाई पनि चिट काटिएको छ ।

चीन बालेन सरकारसँग किन सशंकित ?

काठमाडौं । उत्तरी छिमेकी चीन नेपालको नयाँ सरकारप्रति सशंकित बनेको छ ।

अमेरिकी प्रभाव बढ्दै गए नेपालमा रहेका तिब्बती शरणार्थी र ताइवानी नागरिकहरूले चीनविरोधी गतिविधि गर्ने भन्दै चीन चिन्तित भएको हो ।

हालै गृहमन्त्री सुधन गुरुङलाई राजदूत चाङ माओमिङले भेटेर नेपाल बेइजिङविरुद्ध विदेशी स्वार्थको मञ्च नबन्ने ग्यारेन्टी खोजेका छन् ।

गत २८ मार्चमा एभरेस्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको १३औँ अन्तर्राष्ट्रिय लोक महोत्सवमा केहीबेर ताइवानी झण्डा फहराइएको थियो र विरोधपछि हटाइएको थियो ।

ताइवानलाई चीनले आफ्नो अभिन्न अंक भन्दै आएको छ । तिब्बत त चीनअन्तर्गतको स्वायत्त क्षेत्र हो । तर, तिब्बती पृथकतावादीहरू र ताइवानीहरूलाई अमेरिकासहित पश्चिमा देशहरूले चीनविरुद्ध प्रयोग गरेको भन्दै चीन रुष्ट छ ।

गृहमन्त्री गुरुङसँग चिनियाँ राजदूत माओमिङले चीनविरुद्ध विदेशी स्वार्थको मञ्च नेपाल नहोस् भनेर चासो राखेका हुन् ।

गत जेन–जी विद्रोहको बेला किशोर तिब्बती शरणार्थीहरूले स्वतन्त्र तिब्बतको नारा घन्काएका थिए । तिबेटान ओर्जिनल ब्लड भएको टिसर्ट लगाएर जेन–जी विद्रोहमा घुसपैठ गरेको गौरीबहादुर कार्की आयोगले नै प्रतिवेदनमा उल्लेख गरेको छ । हालका गृहमन्त्री गुरुङलाई टीओबीसँग निकट नेता ठानिन्छ ।

अर्कोतिर, बालेन्द्र शाह प्रधानमन्त्री भएपछि उनलाई निर्वासित तिब्बती धर्म गुरु दलाई लामाको सरकारका प्रमुख पेन्पा छिरिङले बधाइ दिएका छन् । सुशीला कार्की प्रधानमन्त्री हुँदा त दलाई लामाले नै बधाई दिएका थिए ।

चीनको बुझाईमा पछिल्लो समय नेपालमा चीनविरोधी गतिविधि बढेको छ । जुन चीनका लागि पाच्य होइन ।

यस्तोमा गृहमन्त्री गुरुङलाई चिनियाँ राजदूत माओमिङले भेटेर चासो राखेका हुन् ।

 

नेपाल ध्यानको उद्गम बिन्दुः मन्त्री पौडेल

काठमाडाैं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल ध्यानको उद्गम बिन्दु भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा काठमाडौंमा अयाोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएका हुन् । पशुपतिनाथ, लुम्बिनी, जनकपुर धामदेखि मुक्तिनाथसम्म फैलिएको आध्यात्मिक सम्पदा, बहुधार्मिक, बहुसांस्कृतिक परम्परा, भौगोलिक विविधता र प्राकृतिक सौन्दर्य नै जीवित सभ्यताका सशक्त सेतुहरू भएको मन्त्री पौडेलले बताए ।

मन्त्री पौडेलले नेपाललाई विश्व आरोग्य पर्यटनको केन्द्र बनाउने सरकारको नीतिगत प्राथमिकता रहेको जानकारी दिए । उनका अनुसार सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस ईयर’ (आरोग्य वर्ष) को रुपमा मनाउने घोषणा गरेको र यसलाई आर्थिक रुपान्तरणको एजेण्डाको रुपमा अघि बढाइने छ। उनले आरोग्यलाई जीवनशैली र संस्कारकै रुपमा विकास गरिने लक्ष्य राखिएको दाबी गरे। आरोग्य पर्यटनलाई सफल बनाउन निजी क्षेत्र, शैक्षिक संस्था, संचार क्षेत्र र विश्व समुदायलाई सामूहिक प्रयासका लागि उनले अपिल गरे ।

उनले भने, ‘नेपाल ध्यानको उद्गम बिन्दु हो जहाँ हजारौं वर्ष अघि ऋषिमुनिहरूले मानव चेतनाको गहिरो विज्ञान पत्ता लगाएका थिए । हाम्रो प्रकृति नै आरोग्यको केन्द्र हो । यो शान्ति, अध्यात्म र आरोग्यको मधुर धुन बजाइरहेको पवित्र भूमि हो । त्यसैले नेपालमा घुम्न मात्र होइन, आफूलाई चिन्न आउनुस् ।’

नेपाल सरकारको एकल प्रस्तावमा संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएअनुसार आज अप्रिल १५ लाई विश्वभर अन्तर्राष्ट्रिय आरोग्य दिवसको रुपमा मनाइँदैछ । यो अवसर नेपालका लागि कुटनीतिक र सांस्कृतिक दृष्टिले ऐतिहासिक उपलब्धि भएको बताए।

के गणतन्त्रका प्रधानमन्त्री बालेनको झुकाव राजतन्त्रतिर हो ? (भिडियो)

काठमाडौं । गणतन्त्र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राजतन्त्रकालीन नाम ‘महेन्द्र राजमार्ग’ ब्युँताइदिएका छन् ।

देशमा गणतन्त्र आएपछि महेन्द्र राजमार्गको नाम बदलेर ‘पूर्व–पश्चिम’ राखिएको थियो । तर, प्रधानमन्त्री बालेनले ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदामा गणतन्त्रकालीन नाम ‘पूर्व–पश्चिम राजमार्गको नाम हटाएर ‘राजतन्त्रकालीन’ नाम महेन्द्र राजमार्गलाई ब्युँताइदिएका हुन् ।

विगतमा कतिपयले बालेनलाई राजतन्त्रतिर झुकाव राख्ने नेता भन्ने गरेका थिए । हालै संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक राजतन्त्रतर्फ नै झुकाव राख्ने रास्वपा पूर्वसांसद असीम शाहलाई बनाएको पृष्ठभूमिमा प्रधानमन्त्री बालेनले राजतन्त्रकालीन राजमार्गको नाम ब्युँताइदिए ।

यसलाई लिएर प्रधानमन्त्री बालेनको आलोचना र तारिफ दुबै भइरहेको छ । देशमा गणतन्त्र प्राप्तिको आन्दोलनका एक योद्धा रहेका पूर्वमन्त्री सुधन किरातीले बालेनको यस्तो कदमको खुलेरै विरोध गरेका छन् ।

उनले प्रश्न गरेका छन्,– के गणतन्त्रलाई रास्वपाले खिलको रूपमा लिन थालेको हो ?

तर, केहीले भने राजा महेन्द्रले सोभियत रुस र चीनसँग सहयोग लिएर केही कठिन अवस्थामा देशको पूर्वी भाग र पश्चिम भागलाई जोड्ने राजमार्ग बनाएको हुनाले महेन्द्र राजमार्ग भन्नु कुनै आपत्ति मान्नु नपर्ने भन्दै बालेन्द्र सरकारले ब्युँताएको नाममा समर्थन जनाएका छन् ।

१ हजार २८ किलोमिटर रहेको सडक केही अन्तर्राष्ट्रिय शक्ति केन्द्रको तीब्र दबाबबीच राजा महेन्द्रले खण्डखण्डमा निर्माण गराएका थिए ।

उनकै नामबाट पछि राजमार्गको नाम महेन्द्र राजमार्ग भनिएको थियो । देशमा १५ जेठ २०६५ मा गणतन्त्र घोषणापछि यो राजमार्गको नाम फेरेर पूर्वपश्चिम घोषणा गरिएको थियो ।

 

देउवा समूहलक्षित गगनको चेतावनी– धेरै किचकिच नगर्नू, सहन सकिँदैन (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै ‘धेरै किचकिच’ नगर्न चेतावनी दिएका छन् ।

उनले सीमाभन्दा बाहिर गएर अति गरे सहन नसकिने बताए । आफ्नो लचकता र विनम्रतालाई कमजोर नठान्नु भन्दै थापाले कारबाही गर्नेतर्फ संकेत गरेका छन् ।

पार्टीका सबै पक्षलाई मिलाएर लानुपर्ने आफ्नो दायित्व भएको तर पार्टी अनुशासनबाहिर गएर स्वीकार्न नसकिने स्पष्ट पारे ।

पार्टीको अधिवेशन सम्पन्न गर्नुपर्ने, प्रतिपक्षीको जिम्मेवारी सम्हाल्नुपर्ने र नयाँ निर्वाचनको लागि पार्टीलाई तयार गर्नुपर्ने भन्दै थापाले सक्नेलाई सहयोग गर्न, नसक्नेलाई डिस्टर्ब नगर्न पनि चेतावनी दिए ।

सैन्य गठजोडमा सहभागी नहुने सरकारको दाबी

काठमाडाैं। कुनै पनि सैन्य कार्यक्रममा सहभागी नहुने सरकारले जनाएको छ। 

शासकीय सुधारका लागि तयार पारिएको १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गर्ने क्रममा सरकारले सैन्य गठजोड, हातहतियारको प्रतिस्पर्धा र युद्धले शान्तिमा नकारात्मक असर पार्ने मान्यताका आधारमा समदुरी र समनिकटताको विदेश नीति अवलम्बन गर्ने जनाएको हो।

सरकारले कूटनीतिक प्राथमिकताको केन्द्रमा “नेपाल प्रथम, नेपाली प्रथम” भन्ने अवधारणा राखेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। साथै, आर्थिक कूटनीतिलाई सुदृढ बनाउने लक्ष्यसहित ‘सगरमाथा संवाद’ कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ।

त्यसैगरी, सरकारले राष्ट्रिय प्रतिबद्धतामा नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई सर्वोपरि राख्दै देशलाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’मा रूपान्तरण गर्ने लक्ष्य राखेको जनाएको छ।

यसका लागि त्रिपक्षीय आर्थिक साझेदारी र क्षेत्रीय कनेक्टिभिटीमार्फत राष्ट्रिय हित सुनिश्चित गर्ने नीति अपनाइने पनि मस्यौदामा उल्लेख गरिएको छ।

 

महावीर पुन सांसद भएको कानुन बनाउन कि किताब बेच्न ?

काठमाडौं । सांसद महावीर पुन किताब बिक्रेता कि कानुन निर्माण गर्ने जनप्रतिनिधि ? उनको प्राथमिकता कानुन निर्माण कि किताब बिक्री ? म्याग्दीका जनताले सांसद बनाएको किताब बेच्न कि कानुन बनाउन ? जनता अन्योलमा छन् ।

महावीरसँग म्याग्देली जनताको अपेक्षा स्पष्ट थियो– आफ्नो क्षेत्रका समस्या समाधान गरून्, विकासका मुद्दा उठाउन् र राज्यका विभिन्न तहका सरकारसँग समन्वय गरेर जनताको आवाज सशक्त रूपमा प्रस्तुत गरून् ।

तर, यतिबेला उनी काठमाडौंका विभिन्न स्थानमा आफ्नै पुस्तक बिक्री गर्दै गरेको देखिँदा जनतामा अन्योल र असन्तुष्टि दुवै बढेको छ ।

निश्चय नै, पुस्तक लेख्नु र ज्ञान बाँड्नु सकारात्मक कार्य हो । तर, जनप्रतिनिधिको जिम्मेवारी प्राथमिक हो कि किताब बेच्ने अभियान ?

किताब बिक्री गर्ने काम पुस्तक पसल र वितरकहरूले गर्न सक्छन् । सांसद आफैं त्यसमा सक्रिय हुँदा उनको समय र प्राथमिकतामाथि प्रश्न उठेको छ ।

अब वर्षा लाग्यो । खेतीको सिजन सुरु भयो । किसानलाई बीउदेखि मलसम्म चाहिएको छ । बाढी, पहिरो, डुबानजस्ता विपद्बाट जनतालाई जोगाउनु छ ।

त्यसका लागि तीन तहकै सरकारबीच सहकार्य र समन्वय गराउन सूत्रधारको रुपमा सांसद महावीरले काम गर्नुपर्छ । तर, सांसद महावीर आफ्नै तालमा पुस्तक बेच्दै हिँडिरहेका छन् ।

भलै उनी इमानी छन् । तर, महावीर हिजो जस्तो सामान्य नागरिक होइनन्, उनी हजारौँ म्याग्देली जनताको प्रतिनिधि हुन् ।

अब उनी कानुन निर्माताका रुपमा संसद्मा रहेर वीरगञ्ज कृषि कारखाना सञ्चालन गर्न सरकारलाई आग्रह गर्न सक्छन् ।

बजेट छुट्याउन लाउन सक्छन् । उनको बोली बिक्छ । त्यसो हुँदा अहिले किताब बेचेको सोही कारखाना चलाउन भने पनि उनको पहल अब आगामी १५ जेठमा बालेन सरकारले ल्याउने बजेटमार्फत् सम्बोधन गराउनेतिर उन्मुख हुनुपर्छ ।

र, सांसद महावीर पुनले बुझ्नुपर्छ कि जनप्रतिनिधि हुनु भनेको केवल पद धारण गर्नु होइन, त्यो जिम्मेवारी, जवाफदेहिता र जनविश्वासको प्रतिविम्ब हो ।

गृहमन्त्री गुरुङको कार्यशैली विवादमा, रास्वपाकै सांसद जनाउन थाले आपत्ती

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति प्रश्न उठ्न थालेको छ।

गृहमन्त्री गुरुङ अनुगमन तथा स्थलगत निरीक्षणका क्रममा जिल्ला भ्रमणमा जाँदा सम्बन्धित क्षेत्रका सांसदलाई जानकारी नगराइएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको हो।

काभ्रे-१ का सांसद मधु चौलागाईंले प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफल तथा संसदीय दलको बैठकमा गृहमन्त्री गुरुङको कार्यशैलीप्रति आलोचना गरेका छन्। बागमती प्रदेशका संघीय सांसदहरूसँग प्रधानमन्त्री शाहले सोमबार गरेको छलफलका क्रममा पनि यो विषय उठेको बताइएको छ।

सांसद चौलागाईं र धादिङ-१ की सांसद आशिका तामाङले गृहमन्त्री गुरुङले जिल्ला भ्रमण गर्दा आफूहरूलाई समन्वय वा जानकारी नगराएको भन्दै असन्तुष्टि जनाएका हुन्।

गृहमन्त्री गुरुङ गत मंगलबार काभ्रेको रोशी खोलामा भएको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका थिए। उनले विपद् प्रभावित स्थानीयको अवस्था बुझ्नुका साथै विभिन्न क्रसर उद्योगको पनि अनुगमन गरेका थिए।

निरीक्षणका क्रममा उनले अवैध रूपमा सञ्चालन भएका क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका थिए। क्रसर उद्योगका कारण नदी दोहन भई पहिरो र वातावरणीय क्षति बढेको भन्दै उनले कडा कदम चाल्नुपर्ने बताएका थिए।

यसअघि ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध क्रसर सञ्चालन हुँदै आएको आरोप लागे पनि अब त्यसलाई सह्य नहुने उनको भनाइ थियो।

तर, काभ्रे-१ का सांसद चौलागाईंले विपद् व्यवस्थापनसम्बन्धी स्थानीय जानकारी गृहमन्त्रीलाई दिन नपाएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनका अनुसार, विपद् व्यवस्थापन गृहको जिम्मेवारी भए पनि स्थानीय जनप्रतिनिधिलाई समन्वय नगरी गरिएको निरीक्षण प्रभावकारी हुन नसक्ने हुन्छ।

उनले सुरक्षाका दृष्टिले पनि गृहमन्त्रीको भ्रमणका बेला स्थानीय सांसदलाई जानकारी दिनु आवश्यक हुने बताए। सम्भावित जोखिमको अवस्थामा आफूलाई पनि जवाफदेही बन्नुपर्ने अवस्था आउने भएकाले यस्तो समन्वय अपरिहार्य भएको उनको तर्क छ।

धादिङ-१ की सांसद आशिका तामाङले पनि गृहमन्त्रीको भ्रमणबारे आफूलाई जानकारी नदिएको भन्दै प्रधानमन्त्रीसमक्ष गुनासो राखेकी थिइन्।

यसबारे प्रधानमन्त्री बालेन्द्र शाहले भने खासै प्रतिक्रिया नदिएको सांसद चौलागाईंले बताएका छन्।

यसैबीच, गृहमन्त्री गुरुङ देशका विभिन्न विकास निर्माण आयोजनाहरूको स्थलगत निरीक्षणमा सक्रिय छन्। उनले चितवनसहित विभिन्न जिल्लामा पूर्वाधार परियोजनाको अवलोकन गर्दै निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिइरहेका छन्।

सोमबार उनले नारायणगढ-बुटवल सडक खण्डको निरीक्षण गर्दै निर्माण कम्पनीलाई निर्धारित समयभित्र काम सम्पन्न गर्न कडा चेतावनी दिएका थिए।

उनका अनुसार ढिलाइका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेको छ। उनले ठेकेदार कम्पनीले समयमै काम नगरे कडा कारबाही हुने संकेत पनि दिएका छन्।

सरकारले माग्यो सरोकारवालासँग सुझाव

काठमाडौँ । सरकारले शासकीय सुधारलाई लक्षित गर्दै १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको छ र यसमा राजनीतिक दल तथा सरोकारवालाबाट सुझाव र प्रतिक्रिया माग गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले “राष्ट्रिय प्रतिबद्धता” सम्बन्धी अवधारणापत्रमा सुझाव दिन आह्वान गरेको हो। यो प्रक्रिया सरकारले यसअघि सार्वजनिक गरेको सय बुँदे कार्ययोजनाको बुँदा नं. ३ अनुसार अघि बढाइएको बताइएको छ। सो कार्ययोजनामा निर्वाचनमा सहभागी राष्ट्रिय मान्यताप्राप्त ६ राजनीतिक दलका घोषणापत्रमा समेटिएका विषयहरू एकीकृत गरी राष्ट्रिय प्रतिबद्धतापत्र तयार गर्ने र कार्यान्वयन गर्ने उल्लेख थियो।

मस्यौदामा १८ वटा मुख्य क्षेत्र समेटिएका छन्। तीमध्ये आर्थिक स्थायित्व र सुधार, कृषि क्षेत्रको सुदृढीकरण र आत्मनिर्भरता, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा विकास र उपयोग, खानी तथा खनिज, तथा पूर्वाधार विकास प्रमुख छन्।

त्यसैगरी रोजगारी सिर्जना र समृद्धि, शिक्षा र स्वास्थ्य, वन–वातावरण तथा जलवायु परिवर्तन, सुशासन र भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार तथा सेवा प्रवाह, र विद्युतीय सुशासन तथा प्रविधि पनि समावेश गरिएको छ।

मस्यौदामा सामाजिक न्याय र समावेशीकरण, अन्तर्राष्ट्रिय कूटनीति तथा परराष्ट्र सम्बन्ध, नेपाली डायस्पोराको ज्ञान, सीप र पुँजीको उपयोग, खेलकुद विकास, विपद् व्यवस्थापन, तथा सहकारी र लघुवित्त क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ।

राष्ट्रिय प्रतिबद्धतापत्रका मुख्य प्राथमिकता क्षेत्रहरू:

आर्थिक स्थायित्व र सुधार

कृषि पेशाको सम्मान र आत्मनिर्भरता

पर्यटन तथा नागरिक उड्डयन

ऊर्जा विकास तथा उपयोग

खानी तथा खनिज

पूर्वाधार विकास

रोजगारी र समृद्धि

शिक्षा तथा स्वास्थ्य

वन, वातावरण तथा जलवायु परिवर्तन

सुशासन तथा भ्रष्टाचार नियन्त्रण

प्रशासनिक सुधार तथा सेवा प्रवाह

विद्युतीय सुशासन तथा प्रविधि

सामाजिक न्याय तथा समावेशीकरण

अन्तर्राष्ट्रिय कूटनीति तथा परराष्ट्र सम्बन्ध

नेपाली डायस्पोराको ज्ञान, सीप र पुँजीको उपयोग

खेलकुद

विपद् व्यवस्थापन

सहकारी तथा लघुवित्त 

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

मनाङ। नासो गाउँपालिका-३, धारापानीमा भएको ट्रक दुर्घटनामा एक चालकको ज्यान गएको छ।

मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका-९, सिम्पानी बगैँचाका करिब ३७ वर्षीय रामबहादुर गुरुङ रहेका छन्।

मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाका लागि सिमेन्ट बोकेर बेँसीसहरबाट मनाङको कोतोतर्फ जाँदै गरेको बा प्र ०६००१ क ०४६१ नम्बरको ट्रक आज बिहान करिब १० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनापछि गम्भीर घाइते भएका चालक गुरुङको मृत्यु भएको र उनको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङ ले जानकारी दिएको छ।

धवलको नव वर्ष सन्देश : भ्रष्टाचार अन्त्य अपरिहार्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्सेर राणाले राष्ट्रिय एकताको प्रतीकमा एकाग्र भएर सबै नेपाली र विशेष गरेर नवयुवा पुस्ताको हितमा सार्थक प्रतिफल नव वर्ष २०८३ मा प्राप्त गर्नुपर्ने भन्दै शुभकामना दिएका छन् ।

नयाँ वर्षको अवसरमा जारी शुभकामना सन्देशमा राष्ट्रवादी नेता राणाले भने, ‘पृथ्वीपथको जगमा र स्वदेश नै स्वर्ग भन्ने आदर्शअनुकूल नयाँ वर्ष राष्ट्रिय एकता, आर्थिक विकास र नवप्रवर्तनको कोशेढुंगा बनोस् भन्ने कामना गर्दछु ।’

उनले थप भने, ‘निर्वाचन २०८२ पछिका दिनहरुमा जनस्तरमा नयाँ आशा पलाएको छ । सरकारको तर्फबाट आशाप्रद केही प्रयासहरु अघि बढेका छन् । निश्चितरुपमा सामाजिक रोगको रुपमा झाँगिएको भ्रष्टाचारको अन्त्य गर्नैपर्ने बाध्यता छ । रोजगारको सिर्जना, महंगी र वैदेशिक ऋणभारको बढ्दो चुनौति कायमै छ ।’

राजनीतिक क्षितिजमा देखिएका आशाको किरणका बाबजुद राष्ट्रियता, अन्तर्राष्ट्रिय सम्बन्ध एवं कुटनीतिको क्षेत्रमा धेरै काम हुन बाँकि नै रहेको उनको भनाइ छ ।

नववर्ष २०८३ को अवसरमा देशविदेश रहने सबै नेपालीजनलाई शुभकामना दिँदै राणाले देश र समाजमा शान्ति, स्थायित्व र समृद्धी कायम होस्, भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित होस् भन्ने कामना गरेका छन् ।

गणित र ब्रह्माण्डीय विज्ञानको आधारमा : ‘आर्यभट’

काठमाडौं। ‘आर्यभट’ प्राचीन भारतका एक महान ज्योतिषविद् र गणितज्ञ हुन्। उनले ‘आर्यभटीय’ ग्रन्थको रचना गरे, जसमा ज्योतिषशास्त्रका धेरै सिद्धान्तहरूको प्रतिपादन गरिएको छ । ‘आर्यभटीय’  ग्रन्थमा उनले आफ्नो जन्मस्थान ‘कुसुमपुर’ र जन्मकाल शक संवत् ३९८ उल्लेख गरेका छन् ।  

एक अन्य मान्यताअनुसार उनको जन्म महाराष्ट्रको ‘अश्मक’ देशमा भएको मानिन्छ। उनका वैज्ञानिक कार्यहरूको केन्द्र राजकीय राजधानीमै भएको हुन सक्ने मान्यता रहेको छ, त्यहाँ उनले लामो समय अध्ययन र अनुसन्धान गरेका थिए।

‘आर्यभटीय’ ग्रन्थमा गणित, ज्यामिति, त्रिकोणमिति र खगोल विज्ञानका सिद्धान्तहरू समेटिएका छन्। यस ग्रन्थमा वर्गमूल, घनमूल, समान्तर श्रेणी, द्विघात समीकरण, अनिश्चित समीकरण र ज्यामितीय गणनाहरूको विस्तृत वर्णन पाइन्छ।

आर्यभटले गणितमा अत्यन्त सूक्ष्म पाईको मान प्रस्तुत गरेका थिए, जुन आजको आधुनिक गणनासँग समेत नजिक मानिन्छ। उनले पृथ्वी आफ्नो अक्षमा घुम्छ भन्ने विचार पनि प्रस्तुत गरेका थिए, जुन त्यस समयको क्रान्तिकारी धारणा थियो। साइन, कोसाइन र त्रिकोणमितीय तालिकाहरूको प्रारम्भिक विकास पनि उनले नै गरेका थिए। उनले ० देखि ९० डिग्रीसम्मको साइन तालिका तयार गरेका थिए, जसले पछि विश्व गणितलाई ठूलो योगदान दियो ।

खगोल विज्ञानमा उनले ग्रहणलाई राहु-केतु जस्ता छायाँको कारण नभई पृथ्वी र चन्द्रमाको छायाँका कारण हुने प्राकृतिक घटना भनेर व्याख्या गरेका थिए। पृथ्वीको परिधि र ग्रहहरूको गति सम्बन्धी उनका गणनाहरू अत्यन्त सटीक र सरल मानिन्छन्।

उनको प्रभाव भारत मात्र नभई अरब संसार र युरोपसम्म फैलिएको थियो। पछि उनका विचारहरू अनुवाद हुँदै इस्लामी स्वर्ण युग र युरोपेली गणितीय विकासमा समेत योगदान पुगेको मानिन्छ । 

अन्तत: भारतले आफ्ना पहिलो उपग्रहलाई उनको नाम ‘आर्यभट’ राखेर सम्मान गरेको छ। गणित र खगोल विज्ञानको क्षेत्रमा उनको योगदानलाई विश्वव्यापी रूपमा उच्च सम्मान दिइन्छ।

गणित र ब्रह्माण्डीय विज्ञानमा आर्यभटका प्रमुख योगदानहरू :

पाईको मान

उनले गणितमा आफ्ना पूर्ववर्ती आर्किमिडीजभन्दा पनि बढी सटीक र सुनिश्चित पाईको मान प्रस्तुत गरेका थिए। आर्यभटका अनुसार वृत्तको परिधि र व्यासको अनुपात ६२,८३२ : २०,००० हुन्छ, जुन पाँच दशमलव स्थानसम्म शुद्ध मानिन्छ।

चतुराधिकं शतमष्टगुणं द्वाषष्टिस्तथा सहस्राणाम्।

अयुतद्वयस्य विष्कम्भस्यासन्नो वृत्तपरिणाहः॥

(मूल स्रोत: आर्यभटीय, गीति पाद, श्लोक क्रमांक १०)

यस श्लोकको अर्थ अनुसार १०० मा ४ थपेर, त्यसलाई ८ ले गुणा गरी, त्यसपछि ६२००० थपिन्छ। यस नियमबाट २०००० व्यास भएको वृत्तको परिधि निकाल्न सकिन्छ।

(१०० + ४) × ८ + ६२००० / २०००० = ३.१४१६

यस अनुसार वृत्तको व्यास र परिधिको अनुपात ३.१४१६ आउँछ, जुन पाँच दशमलव स्थानसम्म अत्यन्तै सटीक मानिन्छ।

पृथ्वीको आफ्नैअक्षमा घुम्ने गति

खगोल विज्ञानमा कोपर्निकस भन्दा करिब १००० वर्ष अगाडि नै आर्यभटले उदाहरणसहित पृथ्वी आफ्नै धुरीमा घुम्छ भन्ने विचार प्रस्तुत गरेका थिए। ‘गोलपाद’ मा उनले लेखेका छन्,

‘नौकामा बसेको मानिस जब पानीको प्रवाहसँगै अघि बढ्छ, तब उसलाई स्थिर वृक्ष, ढुंगा र पहाडहरू उल्टो दिशामा गइरहेका जस्ता लाग्छन्। त्यसैगरी गतिमान पृथ्वीमा रहेका मानिसहरूलाई स्थिर तारा पनि उल्टो दिशामा गइरहेका जस्ता देखिन्छन्।’ 

यसरी आर्यभटले पृथ्वी आफ्नै अक्षमा घुम्छ भन्ने विचार स्पष्ट रूपमा प्रस्तुत गरेका थिए।

अनुलोम-गतिस् नौ-स्थस् पश्यति अचलम् विलोम-गम् यद्-वत्।

अचलानि भानि तद्-वत् सम-पश्चिम-गानि लंकायाम् ॥

(मूल स्रोत: आर्यभटीय, गोलपाद, श्लोक क्रमांक ९)

यस श्लोकको अर्थ अनुसार-जसरी डुंगामा बसेको मानिसले स्थिर वस्तुहरूलाई पछाडि सर्दै गरेको देख्छ, त्यसैगरी भूमध्य रेखा (लङ्का) मा रहेका मानिसहरूले स्थिर ताराहरूलाई पश्चिमतर्फ गइरहेको देख्छन्।

अर्को श्लोकमा ताराहरू र ग्रहहरूको गति सम्बन्धी व्याख्या गरिएको छ,

उदय-अस्तमय-निमित्तम् नित्यम् प्रवहेण वायुना क्षिप्तस्।

लंका-सम-पश्चिम-गस् भ-पंजरस् स-ग्रहस् भ्रमति ॥

(मूल स्रोत: आर्यभटीय, गोलपाद, श्लोक क्रमांक १०)

यस अनुसार ग्रह र नक्षत्रहरूको उदय र अस्त हुनुको कारण ‘प्रवाह वायु’ द्वारा उत्पन्न आभासी गति हो, जसले तिनीहरूलाई पश्चिम दिशातर्फ सर्ने जस्तो देखाउँछ। यहाँ ‘लङ्का’ शब्द भूमध्य रेखालाई सन्दर्भ बिन्दुका रूपमा प्रयोग गरिएको हो, जसलाई खगोलीय गणनाको आधार मानिएको थियो।

 विभिन्न ज्यामितीय (ज्यामितिक) आकृतिहरूको क्षेत्रफल

आर्यभट्टले त्रिभुजको क्षेत्रफललाई यसरी वर्णन गरेका छन्, ‘त्रिभुजस्य फलशरीरं समदलकोटि भुजार्धसंवर्गः’

(मूल स्रोत: आर्यभटीय, गीतिकापाद श्लोक क्रमांक ५)

यसको अर्थ यस्तो हुन्छ: कुनै पनि त्रिभुजको क्षेत्रफल उचाइ (लम्ब) र आधारको आधा भागको गुणनफल बराबर हुन्छ।

यसरी आर्यभट्टले ज्यामितिको आधारभूत नियमलाई अत्यन्त सरल रूपमा प्रस्तुत गरेका थिए, जसले गणनालाई सहज बनायो। उनका यी सिद्धान्तहरू गणितीय चिन्तनको विकासमा निकै महत्त्वपूर्ण मानिन्छन्।

आर्यभट्टले त्रिकोणमितिमा प्रयोग हुने ज्या (साइन) को पनि विस्तृत अध्ययन गरे। उनले यसलाई अर्ध-ज्या भनेर नाम दिएका थिए, जसको अर्थ ‘आधा डोरी’ वा ‘आधा तार’ हुन्छ। समयसँगै यो शब्द सरल हुँदै ‘ज्या’ बन्यो।

पछि अरब विद्वानहरूले संस्कृत ग्रन्थहरू अनुवाद गर्दा ‘ज्या’ शब्दलाई ध्वनिगत समानताका कारण “जिबा” भनेर उच्चारण गरे। अरबी लिपिमा स्वरहरू कम प्रयोग हुने भएकाले यो शब्द छोटकरीमा ‘ज्ब’ भयो।

पछि जब यो ज्ञान युरोप पुग्यो, विशेष गरी बारहौँ शताब्दीमा क्रीमोना (इटाली) का अनुवादकहरूले “जिबा” लाई गलत रूपमा ‘जेब’ (कपडाको तह) अर्थमा बुझेर ल्याटिन शब्द ‘साइनस’ प्रयोग गरे। यही “साइनस” शब्द पछि अंग्रेजीमा छोटिएर ‘साइन (Sine)’ बनेको हो।

यसरी आर्यभट्टको ‘ज्या’ शब्द विश्वभर फैलिँदै आधुनिक त्रिकोणमितिको आधार बन्न पुग्यो।

पृथ्वीको परिधि

आर्यभट्टका गणनाअनुसार पृथ्वीको परिधि ३९,९६८.०५८२ किलोमिटर हुन्छ, जुन यसको वास्तविक मान ४०,०७५.०१६७ किलोमिटर भन्दा केवल करिब ०.२% कम हो।

यो अत्यन्त सूक्ष्म त्रुटिसहितको नतिजा भएकाले आर्यभट्टको गणनालाई प्राचीन ज्योतिष तथा गणितको अत्यन्त उन्नत उपलब्धि मानिन्छ। उनका गणनाहरूले पृथ्वीको आकार र मापन सम्बन्धी बुझाइलाई वैज्ञानिक रूपमा अगाडि बढाएको देखिन्छ।

उनको यो सन्निकटनलाई कतिपय विद्वानहरूले यूनानी गणितज्ञ एराटोस्थेनेस (लगभग ई.पू. २००) को गणनाभन्दा बढी परिष्कृत मान्छन्। एराटोस्थेनेसले पनि पृथ्वीको परिधि निकाल्ने प्रयास गरेका थिए, तर आधुनिक विश्लेषणअनुसार उनको गणनामा करिब ५–१०% सम्मको त्रुटि रहेको अनुमान गरिन्छ।

यसरी आर्यभट्टको कार्यले प्राचीन भारतमा गणित र खगोलशास्त्र कति वैज्ञानिक र सटीक थियो भन्ने स्पष्ट देखाउँछ।

खगोल विज्ञान (खगोलशास्त्र)

आर्यभट्टले भनेअनुसार चन्द्रमा र ग्रहहरू सूर्यको प्रतिविम्बित प्रकाशका कारण चम्किन्छन् । यो विचार तत्कालीन परम्परागत ब्रह्माण्डविज्ञानभन्दा फरक थियो, जहाँ ग्रहणहरूको कारण राहु र केतु जस्ता छायाग्रहीय शक्तिहरू मानिन्थ्यो। उनले ‘गोला छन्द’ ग्रन्थमा  आर्यभट्टले ग्रहणको वैज्ञानिक व्याख्या प्रस्तुत गर्दै, ग्रहण कुनै दैवी कारणले होइन, बरु पृथ्वी, चन्द्रमा र सूर्यको छायाँ सम्बन्धका कारण हुन्छ भनेका छन् ।  

छन्द गोलामा उनले पृथ्वीको छायाँको आकार, विस्तार र ग्रहणको समयमा देखिने प्रकाश-अन्धकारको अवस्थाको पनि विस्तृत गणना गरेका छन् । यसले ग्रहणको वैज्ञानिक अध्ययनलाई व्यवस्थित आधार दिएको मानिन्छ।

पछि आएका भारतीय खगोलविद्हरूले यी गणनामा सुधार गरे पनि आर्यभट्टका विधिहरू आधारभूत रूपमा अत्यन्त महत्त्वपूर्ण रहे। उनको गणनात्मक शुद्धताको उदाहरण स्वरूप १८औँ शताब्दीका वैज्ञानिक गुइलौम ले जेन्टिल ले पाण्डिचेरी भ्रमणका क्रममा देखे कि १७६५-०८-३० को चन्द्रग्रहणको अवधि आर्यभट्टको गणनाभन्दा केवल ४१ सेकेन्ड फरक थियो, जबकि टोबियस मेयरका चार्टमा ६८ सेकेन्डको फरक देखिएको थियो।

यसरी आर्यभट्टको खगोल गणना अत्यन्त सूक्ष्म र वैज्ञानिक थियो भन्ने स्पष्ट हुन्छ। उनले पृथ्वीको घूर्णन र समय गणनालाई पनि उच्च स्तरको शुद्धतासहित प्रस्तुत गरेका थिए।

उनका अनुसार पृथ्वीको तारकीय दिन (नक्षत्र समय) २३ घण्टा ५६ मिनेट ४.१ सेकेन्ड हुन्छ, जुन आधुनिक मान २३ घण्टा ५६ मिनेट ४ सेकेन्ड ०९१ मिलीसेकेण्डको अत्यन्त नजिक छ।

त्यसैगरी, पृथ्वीको एक वर्षको अवधि उनले ३६५ दिन ६ घण्टा १२ मिनेट ३० सेकेन्ड बताएका छन्, जुन आधुनिक गणनासँग तुलना गर्दा करिब ३ मिनेट २० सेकेन्ड मात्रको फरक देखिन्छ।

यस प्रकार आर्यभट्टको खगोल विज्ञानले प्राचीन समयमा नै समय, ग्रह र ब्रह्माण्डको गणनालाई अत्यन्त वैज्ञानिक र व्यवस्थित स्तरमा पुर्‍याएको स्पष्ट हुन्छ।

अन्ततः प्रारम्भमै आर्यभटले गणित र खगोल विज्ञानलाई वैज्ञानिक आधारमा बुझाउँदै प्राचीन विज्ञानलाई नयाँ दिशा प्रदान गरे। उनको ‘आर्यभटीय’ ग्रन्थले गणित र ब्रह्माण्डीय विज्ञानलाई व्यवस्थित र तर्कसंगत रूपमा प्रस्तुत गरेको छ। समयभन्दा धेरै अगाडि गरिएका उनका गणनाहरू आजको आधुनिक विज्ञानसँग  मेल खान्छन् । जसका कारण उनको योगदान आज पनि उत्तिकै महत्वपूर्ण र प्रेरणादायी छ।

दुर्घटनामा घाइते भएका इन्स्पेक्टरको मृत्यु

काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको उपचारका क्रममा निधन भएको छ।

३२ वर्षीय लामा सवार रहेको बा.प्र.०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बा.प्र.०३-००१ ख १७१५ नम्बरको ट्रकले आइतबार राति करिब ११:१५ बजे ठक्कर दिएको थियो।

उक्त दुर्घटना तारकेश्वर नगरपालिका-८ डाँडागाउँस्थित सडकमा भएको हो। नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामालाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गम्भीर घाइते उनलाई उद्धार गरी प्रारम्भिक उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बीएण्डबी अस्पताल पठाइएको भए पनि उपचारकै क्रममा उनको निधन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन्।

लामा उपत्यका ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत थिए। रामेछाप घर भएका उनी हाल तारकेश्वर नगरपालिका–७ फुटुङमा बस्दै आएका थिए।

उनले २०७२ सालमा प्रहरी जवान पदमा सेवा प्रवेश गरेका थिए। पछि खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक र त्यसपछि पुनः प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा पदोन्नति भएका थिए।

प्रहरीले ठक्कर दिने ट्रक चालक मकवानपुरको मनहरी-५ का ३८ वर्षीय राम मोक्तानलाई नियन्त्रणमा लिएको जनाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

हिप्पो ‘मार्ने’ योजना स्वीकृत

बोगोटा। कोलम्बिया सरकारले देशभर अनियन्त्रित रूपमा फैलिएका हिप्पोहरूको संख्या नियन्त्रण गर्न नयाँ योजना स्वीकृत गरेको छ। उक्त योजनाअनुसार करिब ८० वटा हिप्पो मारिने तयारी गरिएको छ, यद्यपि यो कार्य कहिलेसम्म सम्पन्न गर्ने भन्ने स्पष्ट समयसीमा तोकिएको छैन।

यी हिप्पोहरू कुख्यात लागूऔषध तस्कर पाब्लो एस्कोबारले सन् १९८० को दशकमा आफ्नो निजी फार्ममा ल्याएका थिए। समयक्रमसँगै ती जनावरहरू नियन्त्रण बाहिर फैलिएर अहिले ठूलो पर्यावरणीय चुनौती बनेका छन्।

पर्यावरण मन्त्री आइरिन भेलेजका अनुसार हालसम्म अपनाइएका बाँझो बनाउने वा चिडियाखानामा सार्ने जस्ता विकल्पहरू महँगा र प्रभावहीन साबित भएपछि सरकारले कडा कदम चाल्न बाध्य भएको हो।

उनले भनिन्, ‘यदि हामीले यो कदम नचाले, हिप्पोको संख्या नियन्त्रण बाहिर जान्छ। हाम्रो पारिस्थितिक प्रणाली जोगाउन यो आवश्यक छ।’

कोलम्बिया अफ्रिकाबाहिर जंगली रूपमा हिप्पो पाइने एकमात्र देश हो। यी हिप्पोहरू म्याग्डालेना नदी क्षेत्र नजिक रहेको हासिएन्डा नेपोल्स नामक विशाल फार्ममा राखिएका चार हिप्पोका सन्तान हुन्, जुन पछि खुलेर जंगलमा फैलिएका हुन्।

एक अध्ययनअनुसार सन् २०२२ सम्म देशभर करिब १७० हिप्पो फैलिएका थिए। पछिल्ला वर्षहरूमा तिनीहरू १०० किलोमिटरभन्दा टाढासम्म विस्तार भइसकेका छन्। स्थानीय अधिकारीहरूका अनुसार यी जनावरहरूले गाउँलेहरूको सुरक्षामा खतरा उत्पन्न गरिरहेका छन् र स्थानीय वन्यजन्तुसँग खाना तथा बासस्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

तर अर्कोतर्फ, हिप्पोहरू पर्यटक आकर्षणको केन्द्र पनि बनेका छन्। हासिएन्डा नेपोल्स वरपरका क्षेत्रमा हिप्पो अवलोकन गर्ने टुर र सम्बन्धित सामग्रीको व्यापारसमेत बढेको छ। अहिले उक्त क्षेत्र सरकारको नियन्त्रणमा रहेर पर्यटन पार्कका रूपमा सञ्चालन भइरहेको छ।

सरकारको निर्णयप्रति पशु अधिकारकर्मीहरूले कडा विरोध जनाएका छन्। सांसद तथा पशु अधिकार अभियन्ता एन्ड्रिया पाडिलाले यसलाई ‘निर्दयी निर्णय’ भन्दै आलोचना गरेकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मार्नु कुनै समाधान होइन, यी जनावरहरू सरकारी लापरवाहीका पीडित हुन्।’

पछिल्ला १२ वर्षमा तीनवटा सरकारहरूले हिप्पो नियन्त्रणका लागि विभिन्न प्रयास गरेका भए पनि उच्च लागत र जोखिमका कारण ती प्रयास सीमित रूपमा मात्र सफल भएका छन्। साथै, सीमित आनुवंशिक विविधता र सम्भावित रोग जोखिमका कारण यी हिप्पोलाई अफ्रिका फर्काउने योजना पनि अव्यावहारिक मानिएको छ।

गुगलद्वारा इन्ड-टु-इन्ड इन्क्रिप्सन सुविधा विस्तार

काठमाडाैं। गुगलले आफ्नो इमेल सेवा जिमेलका लागि इन्ड–टु–इन्ड इन्क्रिप्सन (E2EE) सुविधा अब एन्ड्रोइड र आइओएस प्रयोगकर्ताका लागि पनि उपलब्ध गराएको घोषणा गरेको छ। यससँगै, वर्कस्पेस प्रयोगकर्ताहरूले अब इमेलभित्रै उच्चस्तरीय सुरक्षा आवश्यक पर्ने सन्देशहरू तयार गर्न र पढ्न सक्ने भएका छन्, जसका लागि थप एप वा छुट्टै पोर्टलको आवश्यकता पर्दैन।

यो सुविधा गुगलको क्लाइन्ट-साइड इन्क्रिप्सन प्रविधिको विस्तार हो, जुन करिब एक वर्षअघि जिमेलको वेब संस्करणमा सुरु गरिएको थियो। गुगलका अनुसार, इन्क्रिप्टेड इमेल प्राप्त गर्ने व्यक्तिले जिमेल एप प्रयोग गरिरहेको भए ती सन्देशहरू सामान्य इमेलसरह इनबक्समै देखिनेछन्। जिमेल प्रयोग नगर्ने व्यक्तिले पनि ब्राउजरमार्फत सुरक्षित रूपमा इमेल पढ्न र जवाफ दिन सक्नेछन्, जसका लागि इमेल ठेगाना फरक हुनु कुनै समस्या हुँदैन।

कम्पनीका अनुसार यो नयाँ सुविधाले प्रयोगकर्तालाई उच्च स्तरको गोपनीयता र डेटा सुरक्षाको अनुभव सहज बनाउनेछ। विशेषगरी साना व्यवसाय, ठूला उद्यम तथा सार्वजनिक क्षेत्रका संस्थाहरूलाई सुरक्षित इमेल सेवा प्रयोग गर्न थप सहज हुने अपेक्षा गरिएको छ। यद्यपि, हालका लागि यो सुविधा इन्टरप्राइज प्लस सदस्यहरूमा मात्र सीमित गरिएको छ, जसका कारण सामान्य जिमेल प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न पाएका छैनन्।

मोबाइलमा यो सुविधा प्रयोग गर्नुअघि प्रशासकले एडमिन कन्सोलमार्फत क्लाइन्ट-साइड इन्क्रिप्सन सक्षम गर्नुपर्ने हुन्छ। त्यसपछि प्रयोगकर्ताले इमेल पठाउँदा देखिने ‘लक’ आइकनमा क्लिक गरी अतिरिक्त इन्क्रिप्सन चयन गर्न सक्छन्। आवश्यक अनुसार इमेलमा फाइल एट्याचमेन्ट पनि सुरक्षित रूपमा समावेश गर्न सकिन्छ।

गुगलले जनाएको अनुसार, इन्ड-टु-इन्ड इन्क्रिप्सन सुविधा र्यापिड रिलिज डोमेनहरूमा तुरुन्तै उपलब्ध हुनेछ। साथै, यसका लागि इन्टरप्राइज प्लस एड-अन आवश्यक पर्नेछ, जसले संवेदनशील डेटा व्यवस्थापन गर्ने संस्था तथा व्यवसायलाई थप सुरक्षा र कम्प्लायन्ससम्बन्धी उपकरणहरू उपलब्ध गराउनेछ।

राष्ट्रिय नेपाली साहित्य अवार्ड हुने

काठमाडौं। नेपाली भाषा, साहित्य तथा स्रष्टाहरूको सम्मान र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘राष्ट्रिय नेपाली साहित्य अवार्ड’ आयोजना गरिने भएको छ। उक्त अवार्ड रेस्पोन्सिभ मिडिया प्रा.लि.ले आयोजना गर्ने जनाएको छ।

आयोजकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाली साहित्य क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई राष्ट्रिय स्तरमा सम्मान गर्ने लक्ष्य राखिएको छ। साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्दै नयाँ प्रतिभाको पहिचान गर्नु र पुराना स्रष्टाहरूको योगदानको कदर गर्नु अवार्डको मुख्य उद्देश्य रहेको बताइएको छ।

अवार्डअन्तर्गत कविता, कथा, उपन्यास, गजल, निबन्ध, समालोचना लगायत विभिन्न विधामा उत्कृष्ट स्रष्टाहरूलाई सम्मान गरिनेछ। साथै, साहित्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका व्यक्तित्वलाई “लाइफटाइम अचिभमेन्ट अवार्ड” प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार अवार्डका लागि आवेदन तथा मनोनयन प्रक्रिया छिट्टै सार्वजनिक गरिनेछ। छनोट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन विज्ञहरूको निर्णायक मण्डल गठन गरिने पनि जनाइएको छ।

यस अवार्डले नेपाली साहित्यको विकास, संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कार्यक्रम काठमाडौंमा भव्य रूपमा आयोजना गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।

झापाका दुई उद्योगमा आगलागी

 झापा । बिर्तामोड नगरपालिका-४ मा सञ्चालनमा रहेका दुई उद्योगमा आज बिहान आगलागी हुँदा ठूलो क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार बिहान करिब ४ः१५ बजे झापाली चिप्स फ्याक्ट्री र सौगात काष्ठ फर्निचरमा एकैसाथ आगलागी भएको हो। ती उद्योग क्रमशः भक्तिप्रसाद उप्रेती र चन्द्रप्रसाद खरेलले सञ्चालन गर्दै आएका थिए।

आगलागीका कारण दुवै उद्योगका कच्चा पदार्थ, तयारी सामग्री तथा मेसिनरी उपकरण पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोड, सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेका सुरक्षाकर्मी, साथै बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। स्थानीय बासिन्दाले समेत आगो निभाउन सहयोग गरेका थिए।

प्रहरीका अनुसार आगलागीको कारण हालसम्म खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

ट्याक्टरबाट खसेर मृत्यु

झापा । कन्काई नगरपालिका-४ को कोटीहोम क्षेत्रमा मलामी बोकेको ट्याक्टरबाट खस्दा एकजनाको ज्यान गएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत दुर्गापुरबाट माइखोलातर्फ करिब १५ जना मलामी लिएर जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्याक्टरबाट खस्दा सहचालक २५ वर्षीय विनोद दनुवार गम्भीर घाइते भएका थिए। उनी कन्काई नगरपालिका–१का बासिन्दा हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष राईका अनुसार सोमबार दिउँसो करिब २ बजे उक्त घटना भएको हो। दुर्घटनापछि घाइते दनुवारलाई उपचारका लागि कन्काई नगर अस्पताल, सुरुङ्गा लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएको थियो।

तर उपचारकै क्रममा गए राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि ट्याक्टर चालक ३० वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

३ हजार १ सय रुपैयाँले बढ्यो सुन

काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो दिन मंगलबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले बढेको हो।

महासंघले तोकेको नयाँ दरअनुसार सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ रहेको थियो। यसरी हेर्दा पछिल्लो एक सातामा सुनको मूल्य निरन्तर उकालो लागिरहेको देखिन्छ।

त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १६५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी नयाँ वर्षको दिन ५ हजार ६५ रुपैयाँ पुगेको छ। गत मंगलबार भने चाँदीको भाउ प्रतितोला ४ हजार ८२० रुपैयाँ कायम रहेको थियो।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढाव, मुद्रा विनिमय दरमा आएको परिवर्तन तथा विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताका कारण बहुमूल्य धातुहरूको मूल्यमा वृद्धि भइरहेको हो। नयाँ वर्षको सुरुवातमै मूल्य बढ्नुले बजारमा थप चासो र उत्सुकता पैदा गरेको छ।

व्यवसायीहरूका अनुसार आगामी दिनमा पनि सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारकै प्रभावअनुसार घटबढ हुन सक्ने भएकाले लगानीकर्ताहरू सतर्क रहनुपर्ने देखिन्छ।

राष्ट्रिय सभा अध्यक्ष दाहाल इस्तानबुल प्रस्थान

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका संघको १५२औँ महासभामा सहभागी हुन इस्तानबुल प्रस्थान गरेका छन्।

अध्यक्ष दाहाल संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्किस एअरलाइन्सको उडानमार्फत आज बिहान ७ बजे इस्तानबुलतर्फ प्रस्थान गरेका हुन्। उक्त प्रतिनिधिमण्डलमा राष्ट्रिय सभाका सदस्यहरू डा. अन्जान शाक्य र कृष्णबहादुर रोकाया पनि सहभागी रहेका छन्।

वैशाख २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने उक्त महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट मन्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। महासभामा विश्वभरका विभिन्न देशका संसदका प्रतिनिधिहरू सहभागी हुनेछन्, जहाँ संसदीय अभ्यास, लोकतान्त्रिक मूल्य र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यस अवसरमा अध्यक्ष दाहालले विभिन्न देशका संसद प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत तय भएको छ। यस्ता भेटघाटले नेपाल र अन्य देशबीच संसदीय कूटनीति मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

अन्तर-व्यवस्थापिका संघको महासभा विश्वका संसदहरूबीच अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइन्छ। नेपालको सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा देशको उपस्थितिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

बालेन सरकारमा अमेरिकाको मुख्य दुई चासो- एमसीसी र तिब्बतीलाई सहयोग(भिडियो)

काठमाडौं । जेन–जी विद्रोहको पृष्ठभूमिका भएको निर्वाचनपछि प्रधानमन्त्री बनेका बालेन्द्र शाह (बालेन)को सरकारसँग अमेरिकाले दुई वटा विषयमा मुख्य चासो राखेको छ ।

निर्वाचनमा रास्वपाको विजयलगत्तै सुरक्षा मामिलामा सहकार्य गर्न चाहेको नेपालस्थित अमेरिकी राजदूतावासले बधाई ज्ञापन गर्दै भनेको अवस्थामा हालै सार्वजनिक अमेरिकी प्रतिवेदनले एमसीसी र तिब्बती शरणार्थीलाई आर्थिक सहयोगबारेमा चासो राखेको हो ।

दोस्रोपटक डोनाल्ड ट्रम्प राष्ट्रपति भएलगत्तै उनको प्रशासनले नेपालमा कार्यान्वयनमा रहेको एमसीसी परियोजना केहीबेर रोकेको र फेरि निरन्तरता पाएको परियोजना बालेन सरकारमा के होला ? यसमा अमेरिकाले ध्यान दिएको हो ।

तर, अमेरिकाको मुख्य चासो भने स्टेट पार्टनरसिप प्रोग्राम अर्थात् एसपीपीमा हो । नेपाल र अमेरिकाबीच सुरक्षा साझेदारी गर्ने यो कार्यक्रम विगतमा नेपालमा विवादित थियो ।

भनिन्छ, यसपटक बालेन सरकारमा अमेरिका सुरक्षा परियोजना एसपीपी संसद्बाट अनुमोदन गर्न चाहन्छ । यसबारे बालेन सरकारमा के होला ? अमेरिकाले चासो राखेको हो ।

अर्को,अमेरिकाले नेपालमा रहेका तिब्बती शरणार्थीहरूलाई वार्षिक १ करोड ३० लाख डलर सहयोग गरिरहेको अवस्थामा चीनले तिब्बतीहरुलाई बोल्ने र भेला हुने अवस्था नदिन नेपाललाई दबाब दिइरहेको र त्यसमा पनि अमेरिकाले चासो राखेको हो।

नेपालका राजनीतिक विश्लेषकहरुका अनुसार गत जेनजी विद्रोहमा अमेरिकाबाट प्रशिक्षित टिबेटान ओर्जिनल ब्लड (टीओबी)हरुले घुसपैठ गरेका थिए ।

उनीहरुलाई नै अमेरिकाले वर्षेनी सहयोग गर्दै नेपाल र चीनविरोधी गतिविधिमा प्रयोग गर्ने गरेको भन्दै चिन्ता प्रकट भइरहेको छ ।

९ महिनामा ५४ प्रतिशत बजेट खर्च, विकास खर्च २३.५८ प्रतिशत मात्रै

काठमाडाैं। चालु आर्थिक वर्ष २०८२/८३को ९ महिनमा सरकारले करिव ५४ प्रतिशत बजेट खर्च गरेको छ । 

चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको थियो । जसमध्ये चैतसम्ममा सरकारले १० खर्ब ५९ अर्ब बजेट खर्च गरेको अर्थमन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । 

कार्यालयकाअनुसार विनियोजित बजेटमध्ये सबैभन्दा बढी चालुतर्फको शिर्षकमा बजेट खर्च भएको छ । चालु खर्च भनेको सरकारको दैनिक सञ्चालन र नियमित कार्यहरू का लागि गरिने खर्च हो । यो खर्चले नयाँ सम्पती सिर्जना गर्दैन वा दीर्घकालीन प्रतिफल दिँदैन । सामान्यतया यो कुल बजेटको ५८-६२% सम्म पुग्ने गर्छ ।

चालु शिर्षकमा सरकारले यस वर्षका लागि ११ खर्ब ८० अर्ब बजेट छुट्टाएकोमा समीक्षा अवधी सम्ममा सरकारले ७ खर्ब ४७ अर्ब बजेट खर्च गरिसकेको छ । 

पुँजीगततर्फ सरकारले धेरै खर्च गर्न सकेको छैन । पुँजीगत खर्च सडक, पुल, विद्यालय भवन, अस्पताल, सिंचाई, जलविद्युत् जस्ता दीर्घकालीन पूर्वाधार निर्माणमा खर्च हुन्छ । यस्तो शीर्षकमा बजेट खर्च हुन सकेको छैन । खासगरी मध्यपूर्वमा देखिएको तनावले निर्माण व्यवसायीले बिटुमीन इन्धनको अभाव झेलिररहेका छन् । जसको असर पुँजीगत खर्चमा देखिएको छ । 

पुँजीगततर्फ चालु आ.व.मा खर्च गर्न सरकारले ४ खर्ब ७ अर्ब छुट्टाएकोमा ९६ अर्ब १९ करोड खर्च भएको छ । यो खर्च विनियोजित बजेटको २३.५८ प्रतिशत हो ।

 महालेखा नियन्त्रक कार्यालयकाअनुसार सार्वजनिक ऋण व्यवस्थापनका लागि सरकारले यस वर्षका लागि छुट्टाएको बजेट पनि ठूलो मात्रमा भएको छ । यो शिर्षकमा छुट्टाइएको बजेट सरकारले पहिले लिएका ऋणको साँवा र ब्याज तिर्ने गरेको छ ।  

यो शिर्षकमा खासगरी सरकारले ३ खर्ब ७५ अर्ब छुट्टाएको थियो । जसमध्ये २ खर्ब १६ अर्ब बजेट खर्च भइसकेको छ । सरकारले चालु आवको चैतमशान्तसम्म ९ खर्ब ७ अर्ब आम्दानी गरेको छ । राजस्वबाट मात्रै सरकारले ८ अर्ब ८६ करोड संकलन गरेको छ ।

सलहेश फूलबारीमा सुनाखरीको चमक (तस्बिरहरु)

काठमाडाैं। वैशाख १ गते केवल पात्रोको एउटा मिति मात्र होइन, यो मानव सभ्यता, प्रकृति र आस्थाबीचको गहिरो सम्बन्धको प्रतीकका रूपमा स्थापित विश्वव्यापी पर्व हो। सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने यस विशेष दिनलाई मेष संक्रान्तिका रूपमा पनि मनाइन्छ। नेपालमा यही दिनलाई नयाँ वर्षको सुरुवातका रूपमा हर्षोल्लासका साथ स्वागत गरिन्छ, जहाँ देशभर विभिन्न सांस्कृतिक, धार्मिक तथा सामाजिक गतिविधिहरू आयोजना हुने गर्दछन्।

यसै अवसरमा सलहेश फूलबारीमा प्रत्येक वर्षझैँ यस वर्ष पनि भव्य मेला लागेको छ। सिरहाको लहान नगरपालिका वडा नम्बर १२ र २२ को सीमामा अवस्थित यो ऐतिहासिक तथा धार्मिक स्थल वैशाख १ मा विशेष रूपमा जीवित हुन्छ। बिहानैदेखि श्रद्धालुहरूको भीड लाग्ने यस फूलबारीमा नेपालका विभिन्न जिल्ला मात्र नभई भारतका सीमावर्ती क्षेत्रबाट समेत हजारौँ दर्शनार्थीहरू आउने गरेका छन्।

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र लोककथाको अद्भुत संगम बनेको यस फूलबारीको मुख्य आकर्षण ‘सुनाखरी’ (हारम) फूल हो, जुन वर्षमा एकपटक मात्र यही दिन फुल्ने विश्वास गरिन्छ। यही विशेषताका कारण यो स्थललाई रहस्यमय र पवित्र मानिन्छ। फूल फुलेको दृश्य हेर्न भक्तजनहरू घण्टौँ लाइनमा बस्न तयार हुन्छन्, जसले यस क्षेत्रको धार्मिक महत्वलाई थप उजागर गर्दछ।

लोककथाअनुसार राजा सलहेश र उनकी प्रेमिका मालिनको प्रेमको प्रतीकका रूपमा यो फूल फुल्ने विश्वास गरिन्छ। उनीहरूको अमर प्रेमकथाले यो स्थानलाई केवल धार्मिक मात्र नभई सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण बनाएको छ। श्रद्धालुहरूले सलहेश र मालिनको पूजा गर्दै आफ्नो मनोकामना पूरा हुने विश्वास राख्छन्।

मेलाको अवसरमा फूलबारी वरपरका क्षेत्रहरूमा व्यापारिक गतिविधि पनि उल्लेखनीय रूपमा बढ्ने गर्दछ। स्थानीय व्यवसायीहरूले विभिन्न खाद्य परिकार, हस्तकलाका सामग्री तथा धार्मिक वस्तुहरू बिक्री गर्दै आर्थिक लाभ लिने गरेका छन्। यसले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्‍याउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याएको छ।

यसका साथै, फूलबारीभित्र पाइने जडीबुटीहरूलाई पनि विशेष महत्व दिइन्छ। यहाँ पाइने वनस्पतिहरूलाई औषधीय गुणयुक्त मानिन्छ, जसले यस क्षेत्रलाई जडीबुटीको केन्द्रका रूपमा चिनाएको छ। स्थानीय निकाय र समुदायले यी वनस्पतिहरूको संरक्षणमा विशेष ध्यान दिँदै आएका छन्, ताकि यसको प्राकृतिक र सांस्कृतिक सम्पदा दीर्घकालसम्म सुरक्षित रहोस्।

समग्रमा, वैशाख १ मा लाग्ने सलहेश फूलबारी मेला केवल धार्मिक अनुष्ठान मात्र नभई प्रकृति, संस्कृति र आस्थाको अनुपम संगम हो। यसले मानव र प्रकृतिबीचको अटुट सम्बन्धलाई उजागर गर्नुका साथै स्थानीय पहिचान, पर्यटन र परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

 

बालेन-रविबीच तनाव उत्पन्न हुन सक्छ : अमेरिकी प्रतिवेदन (भिडियो)

काठमाडौं । अमेरिकाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच तनाव उत्पन्न हुन सक्ने दाबी गरिएको एक प्रतिवेदन सार्वजनिक गरेको छ ।

राजनीतिक विश्लेषकहरूको हवाला दिँदै बालेन र लामिछानेबीच तनाव उत्पन्न हुन सक्ने दाबी अमेरिकी कंग्रेसको अनुसन्धान गर्ने स्वतन्त्र निकाय कंग्रेसनल रिसर्च सर्भिसले दाबी गरेको छ ।

चुनावअघि बालेन र रविको गठजोडलाई परिस्थितिजन्य मिलन अर्थात् म्यारिज अफ कन्भिनियन्स भनेको छ । प्रतिवेदनमा यसलाई स्वार्थप्रेरित गठजोठ पनि भनिएको छ ।

बालेनलाई नेपालको संस्थापनविरोध अर्थात् पुराना दलहरू विरोधी र सुधारक नेताको रूपमा प्रतिवेदनमा औँल्याइएको छ । तर, उनी मेयर हुँदाको ट्याक रेकर्ड र शासकीय योजनामा स्पष्टताको कमी रहेको उल्लेख छ ।

हालै रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेनबीच प्रतिनिधिसभाको उपसभामुखबारे मतभेद भएको थियो ।

लामिछानेले राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई भेटेर राप्रपाबाट उपसभामुख हुनुपर्ने भन्दै संवाद गरेका थिए ।

तर, प्रधानमन्त्री बालेन्द्र शाहले हर्क साम्पाङको दल श्रम संस्कृति पार्टी नयाँ दल भएको र उक्त दलसँग सहकार्य गर्न उपसभामुख उसैलाई दिनुपर्ने भनेका थिए ।

लामो रस्साकस्सीपछि बालेनको चाहनाअनुसार श्रम संस्कृति पार्टीलाई उपसभामुख दिन रास्वपा सहमत भयो । यसरी उपसभामुख कुन पार्टीबाट भन्नेमा बालेन र रविबीच तनाव उत्पन्न भएको थियो ।

त्यसअघि सभापति रवि लामिछानेले बाचापत्रमा सरकार गठन भएको १०० दिनमै सहकारीपीडितहरूको बचत फिर्ता गर्ने उल्लेख गर्दा बालेनले रविलाई फोन गरेर १०० दिनमा सम्भव नहुने र परामर्श बिना किन राखियो भन्दै कड्किएर सोधेका थिए ।

उनीहरुबीच समानुपातिक सांसद कसको कति हुने भन्नेमा पनि निकै रस्साकस्सीपछि बाँडफाँट भएको थियो ।

यिनै घटनाक्रमको पृष्ठभूमिमा सार्वजनिक अमेरिकी प्रतिवेदनले बालेन र रविबीच तनाव उत्पन्न हुने पूर्वानुमान गरेको हो ।

 

नेपाल बाहेक यी देशमा पनि मनाइन्छ वैशाख एकमा नयाँ वर्ष(तस्बिरहरु)

काठमाडाैं। वैशाख १ गते केवल एउटा मिति मात्र नभएर यो एउटा विश्वव्यापी पर्वको प्रतिक हो जसले मानव जाति र प्रकृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्दछ । सूर्यले मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने यस विशेष दिनलाई मेष संक्रान्ति पनि भनिन्छ । जसलाई आधार मानेर विश्वका विभिन्न भूभागमा नयाँ वर्षको स्वागत गरिन्छ । यस दिनलाई केवल उत्सवका रूपमा मात्र नलिई नयाँ संकल्प, शुद्धीकरण र समृद्धिको प्रस्थान बिन्दुको रूपमा समेत हेर्ने गरिन्छ । 

नेपालमा यो दिनलाई विक्रम संवतको पहिलो दिनका रूपमा हर्षोल्लासका साथ मनाइन्छ जहाँ विशेष गरी भक्तपुरको प्रसिद्ध बिस्केट जात्राले यसको ऐतिहासिकता र सांस्कृतिक ओजलाई झल्काउँछ । नेपाली समाजमा आजको दिनलाई वर्षभरिको सफलताको ऐना मानिने भएकाले मानिसहरू बिहानै उठेर स्नान गर्ने, मन्दिर जाने, नयाँ लुगा लगाउने र मिष्ठान्न भोजनका साथ परिवारमा खुशी बाँड्ने गर्छन्। टोलटोलमा हुने सांगीतिक कार्यक्रम र शुभकामना आदानप्रदानले नेपाली मौलिकतालाई अझ प्रगाढ बनाउँछ । 

भारतको पञ्जाव र हरियाणा क्षेत्रमा यसलाई वैशाखीका रूपमा अत्यन्तै भव्यताका साथ मनाइन्छ जुन किसानहरूका लागि पाकेको अन्नबाली भित्र्याउने खुशीको अवसर पनि हो। यसै दिन सिख समुदायका दशौँ गुरु गोविन्द सिंहले खालसा पन्थको स्थापना गरेको हुनाले यसको धार्मिक महत्त्व अझ बढी छ र गुरुद्वाराहरूमा विशेष प्रार्थनासँगै ढोलको तालमा भाङ्ग्रा नृत्यको रौनक देख्न सकिन्छ।

पश्चिम बङ्गालमा यसलाई पोइला वैशाख भनिँदै नयाँ व्यावसायिक खाता सुरु गर्ने शुभ अवसरका रूपमा मनाइन्छ भने असममा बोहाग बिहुका नाममा सात दिनसम्म नाचगान र रमाइलो गरिन्छ। 

दक्षिण भारतका राज्यहरू जस्तै तमिलनाडुमा पुथान्डु र केरलामा विशु भनी मनाइने यो पर्वमा बिहानै उठेर शुभ वस्तुको दर्शन गर्ने र रङ्गोली बनाएर घर सजाउने परम्पराले छुट्टै मौलिकता थपेको छ। 

केरलामा विशु कानी हेर्ने परम्पराअनुसार ऐना, सुन र फलफूल हेरेर दिनको सुरुवात गर्दा वर्षभरि सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ।

थाइल्याण्डमा मनाइने सङ्क्रान विश्वमै सबैभन्दा चर्चित पानीको उत्सवका रूपमा चिनिन्छ जहाँ मानिसहरूले एक–अर्कामाथि पानी छ्यापेर मन र आत्माको शुद्धीकरण गर्दछन्। उनीहरूले बुद्धका मूर्तिहरूलाई सुगन्धित जलले स्नान गराउने र ज्येष्ठ नागरिकहरूको हातमा विनम्रतापूर्वक पानी राखेर आशीर्वाद लिने कार्यलाई निकै श्रद्धाका साथ पालना गर्छन्। यो उत्सवमा सहभागी हुन विश्वभरका पर्यटकहरू थाइल्याण्डका सडकहरूमा भेला हुने गर्छन्।

म्यानमारको थिङ्ग्यान, लाओसको पि माई र कम्बोडियाको चोल छनाम थ्मेले पनि आजकै दिनको सेरोफेरोमा नयाँ वर्ष मनाउने गर्छन् जहाँ पानीको प्रयोग मुख्य आकर्षणको रूपमा रहन्छ। यी देशहरूमा पानीले विगतका पाप, ईष्र्या र अशुभ कुराहरूलाई पखालेर आगामी वर्षलाई पवित्र बनाउने विश्वास गरिन्छ । मन्दिरहरूमा गएर धर्मकर्म गर्ने र सामूहिक भोजभतेर आयोजना गर्ने कार्यले यी देशहरूमा उत्सवको वातावरण सिर्जना गर्दछ । 

श्रीलङ्कामा सिंहली र तमिल समुदायले अलुथ अबुरुद्दा भन्दै यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् जसमा ज्योतिषीय साइतको अत्यन्तै कडा पालना गरिन्छ। त्यहाँ एउटा निश्चित समयमा सबैले एकैसाथ चुल्हो बाल्ने, खाना पकाउने र परिवारका सबै सदस्य मिलेर पहिलो गाँस खाने परम्परा छ। यो अनुशासन र परम्पराले श्रीलङ्काली समाजलाई एकताको सूत्रमा बाँध्ने काम गर्दछ ।

एशिया बाहिर पनि यो पर्वको प्रभाव उत्तिकै सशक्त देखिन्छ जहाँ विशेष गरी क्यानडा र बेलायतमा बसोबास गर्ने दक्षिण एशियाली समुदायले विशाल परेड र सांस्कृतिक मेलाहरूको आयोजना गर्छन्। 

क्यानडाको टोरन्टो र बेलायतको लन्डन जस्ता सहरहरूमा आजका दिन निकालिने नगर कीर्तन र सांस्कृतिक झाँकीहरूमा हजारौँ मानिस सहभागी हुन्छन्। त्यहाँका स्थानीय सरकारहरूले समेत यस दिनलाई सांस्कृतिक विविधताको सम्मानका रूपमा विशेष मान्यता दिने गरेका छन्।

संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाका विभिन्न सहरहरूमा पनि नेपाली र अन्य एशियाली डायस्पोराले यस दिनलाई आफ्नो संस्कृति जोगाउने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने माध्यम बनाएका छन्। सिड्नीको ओपेरा हाउसदेखि न्युयोर्कको टाइम्स स्क्वायरसम्म नेपाली झण्डा र परम्परागत संगीत घन्किँदा आजको दिनले भौगोलिक सीमाना भन्दा माथि उठेर भावनात्मक एकता सिर्जना गरेको पाइन्छ । अमेरिकाका धेरै राज्यहरूमा आजका दिनलाई विशेष सांस्कृतिक महोत्सवका रूपमा मनाइने गरिन्छ ।

वैज्ञानिक र ज्योतिषीय दृष्टिकोणबाट हेर्दा पनि यो समय नयाँ ऊर्जाको सञ्चार हुने बेला हो किनकि सूर्यले आफ्नो ३६५ दिनको चक्र पूरा गरी पुनः पहिलो राशिमा पाइला टेकेको हुन्छ। पश्चिमा ज्योतिष शास्त्रमा रुचि राख्नेहरूले पनि यसलाई नयाँ ज्योतिषीय वर्षको शुरुवातका रूपमा लिने गर्छन्। 

अतः वैशाख १ गते केवल एउटा देश वा समुदायको चाड नभएर यो प्रकृति, संस्कृति र मानव सभ्यताको एउटा साझा संगम हो जसले संसारभरिका मानिसहरूलाई आशा, उमङ्ग र उत्साहको एउटै डोरीमा बाँधिरहेको छ ।

सुकुम्बासी समस्या प्रधानमन्त्री बालेन्द्र साहका लागि सकस कि साहस ?(तस्बिरहरु)

काठमाडौं। काठमाडौंको थापाथलीस्थित वागमती नदी किनार पुग्दा आधुनिक सहरको चकाचौंधबीच एक विरक्तलाग्दो दृश्य देखिन्छ। एकातिर राजधानीको समृद्धि झल्काउने अग्ला कङ्क्रिटका भवनहरू उभिएका छन् भने अर्कोतिर नीलो-सेतो त्रिपाल, पुराना जस्तापाता र काठका फल्याकले बनेका अस्थायी झुप्राहरूको बाक्लो बस्ती फैलिएको छ। नदी किनारका पर्खालमाथि झुन्डिएका यी संरचनाहरू हेर्दा कुनै पनि बेला दुर्घटना हुन सक्ने जोखिम स्पष्ट देखिन्छ।

वागमती नदीको फोहोर र दुर्गन्धित पानीले यहाँ बसोबास गर्ने मानिसहरूको स्वास्थ्य र सुरक्षामा थप चुनौती सिर्जना गरेको छ। खुला ढल मिसिएको नदी, अस्वच्छ वातावरण र आधारभूत सेवाको अभावले यो बस्तीलाई दीर्घकालीन संकटको केन्द्र बनाएको छ। वर्षौंदेखि थाती रहेको सुकुम्वासी समस्या यहाँ अझै ज्यूँका त्यूँ छ।

यसै सन्दर्भमा, बालेन्द्र साहको विगत र वर्तमान भूमिकाबीच तुलना गर्दै सर्वत्र चासो बढेको छ। काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनले थापाथलीलगायत वागमती किनारका अतिक्रमित संरचना हटाउने अभियान ठूलो तामझामका साथ सुरु गरेका थिए। डोजर प्रयोग गरेर नदी किनार खाली गराउने प्रयास भए पनि स्थानीयको तीव्र विरोध र तत्कालीन संघीय सरकारको असहयोगका कारण त्यो अभियान सफल हुन सकेन। त्यसबेला साहले गृह मन्त्रालय र सुरक्षा निकायबाट अपेक्षित सहयोग नपाएको गुनासो सार्वजनिक रूपमा बारम्बार गर्दै आएका थिए।

तर अहिले परिस्थिति फेरिएको छ। ‘डोजर मेयर’ भनेर चिनिएका साह देशको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीको भूमिकामा पुगेपछि थापाथलीको यो बस्तीमा के परिवर्तन आउला भन्ने प्रश्न उठ्न थालेको छ। विगतमा आफूले औंल्याएका अवरोधहरू हटेका छन्, किनकि अहिले गृह मन्त्रालय, सुरक्षा निकाय र भूमि व्यवस्थासम्बन्धी निर्णय प्रक्रियामा उनको प्रत्यक्ष प्रभाव रहेको छ।

यस अवस्थामा साहले अब के कदम चाल्नेछन् भन्ने विषय महत्वपूर्ण बनेको छ। के उनी पुनः बलपूर्वक डोजर चलाएर बस्ती हटाउने बाटो रोज्नेछन्, वा सुकुम्वासी समस्याको दीर्घकालीन र मानवीय समाधान खोज्दै पुनर्वासको कार्यक्रम अघि बढाउनेछन्? यो प्रश्नको उत्तरले मात्र थापाथलीका बासिन्दाको भविष्य निर्धारण गर्ने छैन, बरु देशव्यापी रूपमा सुकुम्वासी व्यवस्थापनको दिशासमेत तय गर्नेछ।

विशेषज्ञहरूका अनुसार, बलपूर्वक हटाउने नीति अल्पकालीन समाधान मात्र हुन सक्छ। दीर्घकालीन समाधानका लागि वैकल्पिक आवास, रोजगारीको व्यवस्था र सामाजिक सुरक्षा आवश्यक हुन्छ। अन्यथा, हटाइएका बस्तीहरू फेरि अर्को स्थानमा पुनः बस्ने जोखिम रहन्छ।

यसैले, शक्ति सन्तुलनको नयाँ अध्यायमा बालेन्द्र साहको निर्णयले उनको राजनीतिक भविष्य मात्र होइन, नागरिक अधिकारप्रतिको प्रतिबद्धता र राज्यको संवेदनशीलता पनि स्पष्ट पार्नेछ। थापाथलीको यो बस्ती अब केवल एक स्थान मात्र नभई नीतिगत परीक्षणको केन्द्र बनेको छ, जसले सरकारको प्राथमिकता र दृष्टिकोणलाई प्रत्यक्ष रूपमा प्रतिबिम्बित गर्नेछ।

 

सुनले चम्किएको बालेन सत्ता ! स्रोतले अँध्यारो, उठ्दै गम्भीर शंका

८०० तोला सुन, प्रधानमन्त्री बालेनसहित १६ मन्त्रीका । जनता छक्कै परे- सुनैसुनवाला मन्त्रीहरू भएको बालेन ‘मन्त्रिपरिषद्’ देखेर । र भन्न थालेका छन्– स्वर्णिम मन्त्रिपरिषद् ।

चाँदी पनि सयौँ तोला । बहुमूल्य हीरा उत्तिकै । घरजग्गा, गाडी घोडा प्रशस्तै, करोड करोडका शेयर र अपार्टमेन्टहरू बालेन मन्त्रिपरिषद्का सदस्यहरुको प्रशस्तै । बैंक मौज्दात उत्तिकै ।

युवा उमेरका प्रधानमन्त्री बालेन र उनका मन्त्रिपरिषद्का सदस्यहरू पनि युवा उमेरकै । तर, एकसे एक बालेनसहितका मन्त्रीहरू करोडपति कसरी बने ? व्यापार ? जागिर ? कि पैतृक सम्पत्ति ? बहस भइरहेको छ ।

यदि, व्यापार भए के गरेका थिए, जागिर भए महिनाको के १० लाखसम्मको जागिर थियो ? वा केही ? मानिसहरूले सोधिखोजी गर्न थालेका छन् ।

सतहमा हेर्दा बालेन मन्त्रिपरिषद्को यो कदम पारदर्शिताको अभ्यासजस्तो देखिए पनि सम्पत्ति विवरणभित्र गहिरिएर हेर्दा शंकास्पद सम्पत्ति आर्जन देखिन्छ ।

एकातिर करोडौं सम्पत्ति, सयौं तोला सुन र व्यापक लगानी, अर्काेतिर स्रोतको अस्पष्टता, प्यान नम्बरको अभाव र कर प्रणालीप्रति देखिएको लापरबाही ।

प्रधानमन्त्री शाहसँग १९० तोला सुन रहेको उल्लेख छ । करोड बढी बचत छ । आर्जन स्रोत सामाजिक सञ्जाल भनिएको छ । उद्योगमन्त्री गौरीकुमारी यादवसँग १८० तोला सुन, दुई किलो चाँदी र दुई सेट हीरा छ ।

श्रममन्त्री रामजी यादवसँग ८० तोला सुन छ भने गृहमन्त्री सुधन गुरुङसँग झण्डै ९० तोला सुन र ठूलो परिमाणमा चाँदी छ ।

नेपालजस्तो देशमा, जहाँ औसत नागरिकले सानो गहनासमेत किन्न वर्षौँ बचत गर्नुपर्छ, त्यही देशका मन्त्रीहरूको सम्पत्तिमा सयौं तोला सुन हुनु सामान्य परिघटना होइन ।

अधिकांशले यसको स्रोत पैतृक सम्पत्ति वा विवाह उपहार भनेर उल्लेख गरेका छन् । तर, यति ठूलो परिमाणमा बहुमूल्य गहना थुप्रिनु मानिसहरुले अस्वाभाविक मानेका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सम्पत्तिको स्रोत स्पष्ट नभए त्यो भ्रष्टाचारबाट आर्जित सम्पत्ति हुने बताएका छन् ।

उनले बालेन मन्त्रिपरिषद्का मन्त्रीहरूको सम्पत्तिप्रति चर्कित भएका उनले भनेका छन्, ‘स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ ।’

एमालेका पूर्वमन्त्री गोकुल बाँस्कोटाले मन्त्रीहरूसँग तोलाका तोला सुन भएको विवरण सार्वजनिक भएपछि व्यङ्ग्य गर्दै मन्त्रीहरूको खेतबारी पहेँलपुर रहेको बताएका छन् ।

खासमा बालेन मन्त्रिपरिषद्का मन्त्रीहरूको सम्पत्ति आर्थिक पारदर्शिता र कर प्रणालीसँग पनि जोडिएको छ । गहनाजस्तो चल सम्पत्ति स्रोत पुष्टि गर्न गाह्रो हुने भएकाले यसको प्रयोग सम्पत्ति लुकाउने माध्यमका रूपमा हुनसक्ने आशंका पनि उत्तिकै बलियो देखिन्छ ।

तर, सम्पत्ति विवरणको अर्को अत्यन्त गम्भीर पक्ष हो, स्थायी लेखा नम्बर (प्यान) पाँच मन्त्रीले उल्लेख नगर्नु र उनीहरूले आयस्रोतसमेत गोप्य राख्नु । जबकित नेपालमा ‘एक व्यक्ति, एक प्यान’ नीति र आयकर ऐन २०५८ अनुसार पारिश्रमिक लिने, व्यवसाय गर्ने वा आम्दानी गर्ने व्यक्तिले प्यान लिनु अनिवार्य छ ।

तर, भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल, संघीय मामिला मन्त्री प्रतिभा रावल, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, उद्योगमन्त्री यादव र श्रममन्त्री यादवको विवरणमा प्यान नम्बर उल्लेख छैन ।

यो तथ्य आफैंमा गम्भीर प्रश्न हो । किनकि त्यही विवरणमा बैंकमा लाखौं रुपैयाँ मौज्दात, सेयर लगानी र पारिश्रमिकबाट आएको आम्दानी स्पष्ट रूपमा उल्लेख छ ।

यदि आम्दानी छ भने प्यान किन छैन ?

यदि प्यान छ भने विवरणमा किन छैन ?

यी प्रश्नहरू प्राविधिक त्रुटिका रूपमा टार्न सकिँदैनन् । यसले कर प्रणालीप्रतिको प्रतिबद्धता र सम्भावित कर छलिबारे शंका जन्माउँछ ।

प्रधानमन्त्री बालेन र उनका मन्त्रीहरूको सम्पत्ति विवरणको अर्को गम्भीर कमजोरी हो, आम्दानीको स्रोत स्पष्ट रूपमा नखुलाइनु ।

भौतिकमन्त्री सुनील लम्सालको बैंक खातामा ९० लाख रुपैयाँ छ, तर स्रोत खुलाइएको छैन ।

सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले २५ तोला सुन ‘स्वआर्जन’ भनिन् तर त्यो कसरी आर्जन भयो भन्ने विवरण छैन ।

स्वास्थ्यमन्त्री निशा मेहताले पारिश्रमिकबाट आम्दानी भएको उल्लेख गरेकी छन्, तर कर प्रणालीसँग सम्बन्धित विवरण छैन ।

शिक्षामन्त्री सस्मित पोखरेलले काठमाडौं महानगरपालिकामा काम गरेर आम्दानी गरेको बताएका छन् । यसको अर्थ उनी नियमित तलब पाउने व्यक्ति थिए। तर प्यान नम्बर उल्लेख छैन । अनि, बालेन काठमाडौंको मेयर साढे तीन वर्ष भए, के शिक्षामन्त्री सस्मितले करिब २५ करोड यसबीचमै कमाए ? यदि कमाए भने उनको तलब के वार्षिक ७ करोड बढी थियो ? प्रश्न उठ्छ ।

यी विवरणहरुले देखाउँछन् कि सम्पत्ति विवरणमा अंक छ, विश्वसनीय प्रमाण छैन ।

अर्थात्, सम्पत्ति छ, आयस्रोत अस्पष्ट छ ।

जस्तो, अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति विवरण हेर्दा करोडौंका घर, अपार्टमेन्ट, सेयर लगानी र बैंक मौज्दात देखिन्छ । उनले अन्तर्राष्ट्रिय रोजगारी, पैतृक सम्पत्ति, घर बिक्री र ऋणलाई स्रोत बताएका छन् ।

गृहमन्त्री सुधन गुरुङसँग चार करोडभन्दा बढी सेयर छ । शिक्षामन्त्री पोखरेलको परिवारसँग २४ करोडभन्दा बढी सम्पत्ति छ ।

यी तथ्यहरुले भन्छ, प्रधानमन्त्री र मन्त्रीहरुको पर्याप्त छ तर स्पष्ट स्रोत छैन । कर छलीमा शंका उत्पन्न भएको छ ।

किनभने मन्त्रीसँगै प्यान नम्बर छैन, स्रोत अस्पष्ट छ र विवरण अधुरो छ । तर, सर्वसाधारण नागरिकका लागि प्यान अनिवार्य, कर नतिरे कारबाही हुन्छ, सानो गल्तीमा जरिवाना छ तर मन्त्रीका लागि प्यान उल्लेख नगरे पनि छुट, स्रोत अस्पष्ट भए पनि प्रश्न कम र करोडौं सम्पत्ति भए पनि छानबिन छैन ।

तर, मन्त्रिपरिषद्को सम्पत्ति विवरणले एउटा कुरा स्पष्ट पारेको छ कि नेपालका मन्त्रीहरू आर्थिक रूपमा अत्यन्त सबल छन् । यद्यपि, त्यो सम्पत्ति कति वैध, कति पारदर्शी र कति कर प्रणालीभित्र छ भन्ने अझै अनिश्चित छ ।

अब प्रश्नहरू बालेन सरकारतर्फ सोझिएका छन्,

प्यान बिना आम्दानी गर्ने मन्त्रीहरूलाई के हुन्छ ? कर तिराइन्छ कि तिराइँदैन ?

स्रोत नखुलेको सम्पत्तिको छानबिन हुन्छ कि हुँदैन ? जबकि, अहिले कांग्रेसका पूर्वमन्त्री दीपक खड्काको छानबिन गरिँदैछ, कांग्रेसकै निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाको र नेकपा संयोजक पुष्पकमल दाहालको पनि सम्पत्ति छानबिन गरिँदैछ ।

अनि, बालेन सरकारमा सम्पत्ति विवरणको सत्यता कसले सुनिश्चित गर्छ ?

यदि यी प्रश्नहरूको जवाफ बालेन सरकारबाट आएन भने सम्पत्ति विवरण सार्वजनिक गर्नु औपचारिक प्रक्रिया मात्र हुनेछ । पारदर्शीताको कलात्मक नाटक हुनेछ ।

तर, जे होस्, सुनको चमकले ढाकिएको राजनीतिक संरचनाभित्र पारदर्शिताको उज्यालो अझै कमजोर छ । यसमा बालेन सरकार चुक्नु भएन ।

प्रधानमन्त्रीकपको फाइनलमा सुदुरपश्चिम र आर्मी भिड्दै

काठमाडौं । आसिफ शेखको कीर्तिमानी दोहोरो शतकको प्रेरणामा एपीएफ क्लबले मधेश प्रदेशलाई ७४ रनले पराजित गर्दै प्रतियोगितामा महत्वपूर्ण जित हासिल गरेको छ।

यससँगै मधेश प्रदेशको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ भने सुदूरपश्चिम प्रदेशले फाइनलमा स्थान सुरक्षित गरेको छ। जितसँगै एपीएफले जय ट्रफीमा पनि स्थान बनाएको छ।

उपाधिका लागि अब सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

एपीएफले दिएको ३९१ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मधेशले ५० ओभरमा ८ विकेट गुमाएर ३१६ रन बनाउँदै राम्रो संघर्ष गरे पनि लक्ष्य भेट्टाउन सकेन।

यस संस्करणसँगै प्रधानमन्त्री कपको इतिहासमा पहिलोपटक कुनै विभागीय टोलीबाहेकको टिम फाइनलमा पुगेको हो।

प्रतियोगिताको इतिहास हेर्दा पहिलो संस्करणमा नेपाल पुलिस क्लब र आर्मीबीचको फाइनल नतिजाविहीन बनेको थियो। दोस्रो संस्करणमा एपीएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो भने तेस्रो संस्करणमा पुलिसले आर्मीलाई ४ विकेटले हराएको थियो।

चौथो संस्करणमा आर्मीले एपीएफलाई ३३ रनले पराजित गर्दै च्याम्पियन बनेको थियो भने पाँचौं संस्करणमा एपीएफले आर्मीलाई ४ विकेटले हराउँदै उपाधि हात पारेको थियो।

छैटौं र सातौं संस्करणमा भने नेपाल पुलिस क्लबले लगातार आर्मीलाई ६-६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

छात्रवृत्ति नदिने विद्यालयमाथि कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियमअनुसार छात्रवृत्ति प्रदान नगर्ने विद्यालयमाथि कानुनबमोजिम कारबाही गर्न स्थानीय तहहरूलाई समन्वय र सहजीकरण गर्न अनुरोध गरेको छ।

मन्त्रालयले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीअनुसार निजी तथा सार्वजनिक विद्यालयहरूले विद्यार्थी संख्याका आधारमा अनिवार्य रूपमा दिनुपर्ने १० प्रतिशत छात्रवृत्ति कार्यान्वयन भए/नभएकोबारे अनुगमन गर्न आग्रह गरेको हो।

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ अनुसार निजी लगानीका तथा शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयहरूले तोकिएको अनुपातमा विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्न स्थान आरक्षण गर्नुपर्ने व्यवस्था छ।

त्यसैगरी, शिक्षा नियमावली, २०५९ ले संस्थागत विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघटाई गरिब, अपाङ्गता भएका, महिला, दलित तथा जनजाति विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने प्रावधान राखेको छ।

मन्त्रालयले सबै विद्यालयलाई तोकिएको मापदण्डअनुसार छात्रवृत्ति प्रदान गरी छनोट प्रक्रियाबाट लाभान्वित विद्यार्थीहरूको विवरण तत्काल आईएमआईएस प्रणालीमा अद्यावधिक गर्न पनि निर्देशन दिएको छ।

साथै, छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण अभिभावकले सहजै हेर्न सक्ने गरी सार्वजनिक गर्न र सो विवरण अद्यावधिक भए/नभएको नियमित अनुगमन गर्न स्थानीय तहलाई भनिएको छ। नियम पालना नगर्ने विद्यालयलाई तत्काल विवरण अद्यावधिक गराउन निर्देशनसमेत दिइएको मन्त्रालयले जनाएको छ।

नयाँ वर्षमा राष्ट्रिय एकता र स्थिरतामा जोड दिन ज्ञानेन्द्र शाहको आह्वान (भिडियाे)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय एकता, स्थिरता र आत्मनिर्भरता सुदृढ गर्न आह्वान गरेका छन्।

देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले विगतका कमजोरी सच्याउँदै राष्ट्रलाई प्रगतिपथतर्फ अघि बढाउनुपर्ने बताएका छन्।

उनले विगतका वर्षहरूमा अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै राजनीतिक परिवर्तनहरू भए पनि त्यसले स्थायित्व र समृद्धि दिन नसकेको टिप्पणी गरेका छन्। 

‘दलदलको खलबलमा धेरै दगुरियौं, तर राष्ट्रको श्रीवृद्धिमा पछि पर्‍यौं,’ उनले सन्देशमा भनेका छन्।

ज्ञानेन्द्र शाहले देश अहिले बहुआयामिक समस्याले ग्रसित रहेको उल्लेख गर्दै आर्थिक सुधार, आन्तरिक सुरक्षा सुदृढीकरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्। युवापुस्ताको राजनीति र राज्य सञ्चालनमा बढ्दो सहभागितालाई सकारात्मक रूपमा लिँदै उनले शिक्षित र दक्ष जनशक्तिको प्रयोगबाट राष्ट्रलाई अघि बढाउन सकिने विश्वास व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘स्थिरता, निरन्तरता, दृढता कता कता हराएर गयो । विधि, पद्धति, व्यक्ति बदलेर मात्रै समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ । राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लागेको छ।’

उनले देशलाई आत्मनिर्भर र स्वाधीन बनाउन स्रोतसाधनको उचित उपयोग आवश्यक रहेको उल्लेख गर्दै सांस्कृतिक पहिचान, परम्परा र मौलिकताको संरक्षणमा जोड दिएका छन्।

सन्देशमा उनले निषेध, द्वन्द्व र प्रतिशोधको राजनीतिले देशलाई कमजोर बनाउने भन्दै संवाद, सहमति र सहकार्यबाट समाधान खोज्न आग्रह गरेका छन्।

नेपाललाई शान्ति र समृद्धिको मार्गमा अघि बढाउन सबै पक्ष एकजुट हुनुपर्ने उल्लेख गर्दै उनले नयाँ वर्षले सबै नेपालीमा न्याय, शान्ति र सुख ल्याओस् भन्ने कामना गरेका छन्।

भिडियाे:

रुबीकुमारीले सम्हालिन् उपसभामुखको जिम्मेवारी

काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि जिम्मेवारी सम्हालेकी छन् ।

ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । उनले सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरिन् । अर्यालले रुबीलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिए ।

उनी यही चैत २७ गतेको उपसभामुखमा निर्वाचित भएकी थिइन् ।