`

अमेरिकालाई नेपालकाे कीर्तिमानी चुनाैती, इशान र दीपेन्द्रको अर्धशतकमा ३१८ रनको लक्ष्य

काठमाडौं । नेपाली टोलीका नयाँ शीर्ष क्रमका ब्याट्सम्यान इशान पाण्डे र अर्का ब्याटर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शन मद्दतमा नेपालले अमेरिकालाई ३१८ रनको फराकिलो लक्ष्य दिएको छ।

काठमामडौंको कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय क्रिकेटमा पाण्डेले लगातार दोस्रो अर्धशतक बनाउँदा दीपेन्द्र पनि ५० रन कटाउँदै नेपालको स्कोर ३०० माथि लैजान भूमिका खेलेका हुन्।

दीपेन्द्रले रनआउट हुनुअघि ३६ बलको सामना गर्दै ५९ रनको शानदार पारी खेले । इशान र दीपेन्द्रको गतिलो प्रदर्शन बलमा नेपालले ८ विकेटको क्षतिमा पूरै ५० ओभर खेल्दै ३१७ रन बनाउन सफल भएको हो ।

यसअघि जेठ ४ मा भएको स्कटल्यान्डविरुद्धको खेलमा पनि पाण्डेले अर्धशतक बनाएका थिए । अमेरिकाविरूद्ध पनि शुक्रबार त्यस्तै प्रदर्शन गर्दै उनले ८४ रनको योगदान दिए ।

यो स्कोर नेपालले एक दिवसीय क्रिकेटको पहिलो इनिङमा बनाएको सर्वाधिक धेरै हो । यसअघि सन् २०२३ मा नेपालमै भएको एसीसी प्रिमियर कपमा ओमानविरुद्ध नेपालले ३१० रन बनाएको थियो ।

अनधिकृत रूपमा ‘डाक्टर’ उपाधि लेखे कारबाही गर्ने काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सक (डाक्टर) उपाधिको अनधिकृत प्रयोग तथा भ्रामक विज्ञापन गर्नेविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक सञ्जालमार्फत गैर–चिकित्सक व्यक्तिहरूले समेत आफ्नो नामअघि अनधिकृत रूपमा ‘डा.’ उपाधि प्रयोग गरी उपचार, औषधी सिफारिस र परामर्श दिने कार्य बढ्दै गएको काउन्सिलले जनाएको छ । यसले सर्वसाधारणमा गम्भीर भ्रम सिर्जना गरी जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेको काउन्सिलको भनाइ छ ।

निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले जारी गरेको सूचनामा काउन्सिल ऐन, २०२० अनुसार नेपालमा आधुनिक चिकित्सा प्रणालीअन्तर्गत उपचार, परामर्श तथा ‘डा.’ उपाधि प्रयोग गर्ने अधिकार काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्र रहेको स्पष्ट पारिएको छ ।

सूचनामा मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्साशास्त्रमा स्नातक वा सोभन्दा माथिल्लो उपाधि हासिल गरी काउन्सिलमा दर्ता भएका व्यक्तिलाई मात्र ‘चिकित्सक’ मानिने उल्लेख गरिएको छ ।

काउन्सिलका अनुसार पछिल्लो समय केही गैर–चिकित्सक स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिले क्लिनिक, अस्पताल र सामाजिक सञ्जालमा समेत अनधिकृत रूपमा ‘डा.’ उपाधि प्रयोग गर्दै उपचार तथा परामर्श दिने गरेको देखिएको छ ।

यस्ता गतिविधिले जनस्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै काउन्सिलले सम्बन्धित व्यक्तिहरूलाई १५ दिनभित्र आफ्नो नाम, प्रेस्क्रिप्सन, क्लिनिक साइनबोर्ड, भिजिटिङ कार्ड तथा सामाजिक सञ्जालबाट उक्त उपाधि हटाउन निर्देशन दिएको छ ।

काउन्सिलले तोकिएको समयसीमापछि विशेष अनुगमन टोलीमार्फत स्थल तथा डिजिटल माध्यमबाट कडा निगरानी गरिने जनाएको छ ।

अनधिकृत रूपमा ‘डा.’ उपाधि प्रयोग गरी बिरामी जाँच्ने वा परामर्श दिने कार्य गरेको पाइएमा काउन्सिल ऐन, २०२० अनुसार मुद्दा चलाइने चेतावनी दिइएको छ । सो ऐनअनुसार दोषी ठहरिएमा तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको काउन्सिलले जनाएको छ ।

राज्य सञ्चालनका लागि ऋण लिनुपर्ने बाध्यता छ – अर्थमन्त्री वाग्ले [भिडियो]

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सीमित स्रोत र साधनको कठोर परिधिभित्र रहेर निर्माण भइरहेको बताएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नागरिक र जनप्रतिनिधिका असीमित चाहनालाई सीमित स्रोतसाधनले सम्बोधन गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे ।

अर्थमन्त्री वाग्लेले भने, ‘हामी बाँधिएका छौँ, हाम्रा साधन स्रोत अत्यन्तै सीमित छन् । तर हाम्रा चाहना र विकासप्रतिको अपेक्षा असीमित छन् । सीमित स्रोतभित्र असीमित चाहना पूरा गर्नु अर्थमन्त्रीका लागि ठूलो चुनौती हो । राज्य सञ्चालन पनि घरमूलीले घर चलाएजस्तै हो ।’

उनले देशको आम्दानी र खर्चबीचको खाडल देखाउँदै ऋण नलिई राज्य सञ्चालन सम्भव नहुने अवस्था रहेको बताए ।

‘हाम्रो अनिवार्य दायित्व नै १३ खर्ब ३० अर्बको छ, तर राजस्व ११ खर्ब ८० अर्ब मात्र उठ्ने अवस्था छ । राज्य सञ्चालनका लागि ऋण लिनुपर्ने बाध्यता छ,’ उनले भने ।

अर्थमन्त्री वाग्लेले आगामी बजेटमा नयाँ महत्त्वाकांक्षी योजनाभन्दा पनि सम्पन्न हुन लागेका आयोजनालाई प्राथमिकता दिने स्पष्ट पारे ।

उनका अनुसार ७० देखि ८० प्रतिशत काम सकिएका तर बजेट अभावमा रोकिएका खानेपानी, सिँचाइ र प्रसारण लाइनजस्ता आयोजना यस वर्ष पूरा गर्ने लक्ष्य छ ।

उनले सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२–४३ प्रतिशत पुगेको भन्दै अनुत्पादक क्षेत्रमा ऋण नलगाइने बताए ।

बजेटको आकार बढाउने तर खर्च नहुने प्रवृत्ति अन्त्य गर्दै यथार्थपरक बजेट ल्याइने उनले बताए । विगतमा बजेटको करिब ३० प्रतिशत खर्च हुन नसकेको तथ्य पनि उनले स्मरण गराए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र बुढीगण्डकी जलविद्युत आयोजना जस्ता ठूला परियोजनामा ऋणको जोखिम नबढ्ने गरी नयाँ लगानी मोडालिटी अपनाइने उनले बताए ।

पोखरा र भैरहवा विमानस्थलको अनुभवलाई ध्यानमा राख्दै निजगढमा निजी क्षेत्र वा वैदेशिक लगानी (पीपीपी/एफडीआई) मोडेलबारे छलफल भइरहेको उनले जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले स्वास्थ्य बिमा कार्यक्रमको वर्तमान मोडेल असफल देखिएकाले पुनर्संरचना गरिने बताए । आय स्तरका आधारमा प्रिमियम, सह–भुक्तानी र पूर्ण निःशुल्क व्यवस्था गर्ने नयाँ मोडेल ल्याउने तयारी रहेको उनले बताए ।

सहकारी समस्याबारे बोल्दै उनले ५ लाखसम्मका साना बचतकर्ताको रकम फिर्ता गर्न सहजीकरण गरिने तर त्यसका लागि करदाताको पैसा प्रयोग नगरिने स्पष्ट पारे । सहकारीकै सम्पत्ति बिक्री वा चक्रीय कोषमार्फत समस्या समाधान गरिने उनले बताए ।

३२ पटक सगरमाथा आरोहण गरेका कामिरिता काठमाडौंमा [तस्वीरहरू]

काठमाडौं। ३२ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका आरोही कामिरिता शेर्पा काठमाडौं आइपुगेका छन् ।

शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका परिवार र आफन्तले उनलाई भव्य स्वागत गरेका हुन्।

तस्वीरहरू:

नातिलाई समर्पित गर्दै पूर्वप्रधानमन्त्री कार्कीले लेखिन् यस्तो किताब

काठमाडौं । जेन-जी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिमा अन्तरिम सरकारको नेतृत्व सम्हालेकी पूर्वप्रधानमन्त्री तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नयाँ साहित्यिक कृति ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ प्रकाशन हुने भएको छ ।

कार्कीले जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरिरहेकै चुनौतीपूर्ण समयमा यो कृति लेखेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आन्दोलनपछि तत्कालीन सरकार विस्थापित भई बनेको अन्तरिम सरकारको नेतृत्व गरिरहँदा देश अनिश्चितताको अवस्थामा थियो । त्यस्तो परिस्थितिमा पनि उनले कल्पनाशीलता र सिर्जनशीलता कायम राख्दै बालमनोविज्ञानलाई केन्द्रमा राखेर कृति तयार गरेकी हुन् ।

नेपालकी पहिलो महिला प्रधानन्यायाधीश कार्कीको जन्म २००९ साल जेठ २५ गते मोरङ, विराटनगरको शंखपुरमा भएको हो । किसानी परिवारमा हुर्किएकी उनी बीपी कोइराला परिवारसँग नजिक सम्बन्ध रहेको मानिन्छ । उनका पति दुर्गा सुवेदी प्रजातान्त्रिक आन्दोलनका सेनानी हुन् ।

शिक्षा यात्रामा उनले महेन्द्र मोरङ क्याम्पसबाट स्नातक, बनारस हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक उपाधि हासिल गरेकी थिइन् । त्यसपछि उनले २०४२ देखि २०४६ सालसम्म धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापनसमेत गरेकी थिइन् ।

वकालत पेशा २०३५ सालदेखि सुरु गरेकी कार्कीले विराटनगर पुनरावेदन अदालत बार एसोसिएसनको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको संवैधानिक परिषद्बाट उनको नाम प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो । उनले आफ्नो कार्यकालमा सुडान शान्ति सेना भ्रष्टाचार प्रकरण, प्रहरी महानिरीक्षक नियुक्ति विवाद, अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति बदरलगायत महत्वपूर्ण संवैधानिक तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा निर्णय गरेकी थिइन् ।

उनको कार्यकालमा महाभियोग प्रस्ताव दर्ता भए पनि सर्वोच्च अदालतको आदेशपछि प्रक्रिया निष्क्रिय भएको थियो ।

सेवा निवृत्तपछि कार्की साहित्य लेखनमा सक्रिय रहँदै आएकी छन् । उनले ‘न्याय’ (संस्मरण) र ‘कारा’ (उपन्यास) प्रकाशित गरिसकेकी छन् । उनका लेखनमा न्याय, सत्ता, भ्रष्टाचार र मानव संवेदनाबीचको सम्बन्धलाई सरल र स्पष्ट रूपमा प्रस्तुत गरिएको पाइन्छ ।

नयाँ कृति ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ उनले आफ्ना नातिलाई समर्पित गरेकी छन् । पुस्तकले प्रेम, आशा र सकारात्मकताको सन्देश दिने बताइएको छ । चराचुरूंगी र जनावरबीचको अन्तरक्रियामार्फत उपन्यासले समानुभूति, सहकार्य र पारस्परिक निर्भरताको भाव प्रस्तुत गर्नेछ ।

लेखक कार्कीका अनुसार यो पुस्तक अन्योल र अनिश्चितताको समयमा हुर्किरहेका बालबालिकाका लागि विशेष उपहारका रूपमा रहनेछ ।

उक्त कृति छिट्टै बजारमा उपलब्ध हुने बताइएको छ ।

चम्किए इशान पाण्डे, स्कटल्यान्डपछि अमेरिकाविरुद्ध पनि अर्धशतक

काठमाडौं- इशान पाण्डे अमेरिकाविरुद्धकाे खेलमा पनि चम्किएका छन् । नेपाली टोलीका नयाँ शीर्ष क्रमका ब्याट्सम्यान उनले अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

जेठ ४ मा स्कटल्यान्डविरुद्धको खेलमा पनि उनले अर्धशतक बनाएका थिए । शुक्रबार पनि उनले अमेरिकाविरूद्ध त्यस्तै खेल खेले ।

काठमामडौंको कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय क्रिकेटमा उनले लगातार दोस्रो अर्धशतक बनाएका हुन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाविरुद्ध आईसीसी विश्वकप लिग-२ अन्तर्गत अर्धशतक पूरा गर्दै ८१ बलमा ८२ रन बनाइसकेका छन् ।

यसअघि इशानले ६१ बलको सामना गर्दै एक छक्का र तीन चौकासहित ५० रन पूरा गरेका थिए । नेपाली राष्ट्रिय टोलीमा नयाँ ब्याटर उनले अन्तर्राष्ट्रिय करिअरतर्फ सुरूवातमै आफूलाई अब्बल सावित गरेका छन् ।

होम ग्राउन्डमा भइरहेको लिग–२ शृंखलाबाट उनले वान्डेमा ‘डेब्यू’ गरेसँगै चम्किन थालेका हुन् । उनले नेपालका लागि तेस्रो खेल खेल्दैछन् ।

ताजा अवस्थामा नेपाल ४० ओभर खेल्दै ३ विकेको क्षतिमा २१२ रनको अवस्थामा पुगेको छ। नेपालले टस हार्दै ब्याटिङको निम्तो पाएको हो । अहिले ८३ रन बनाएका इशानलाई दीपेन्द्रसिंह भरीले साथ दिइरहेका छन् ।

श्रीकृष्ण विक मृत्यु प्रकरण : प्रहरीकै लापरबाही पुष्टि, सीसीटीभी फुटेज गायब

काठमाडौं । सिन्धुलीकाे सुनकोशी गाउँपालिका-३ जुम्लीडाँडाका श्रीकृष्ण विकको प्रहरी हिरासतभित्र भएको मृत्यु प्रकरणमा प्रहरीबाट गम्भीर लापरबाही भएको निष्कर्ष छानबिन समितिले निकालेकाे छ ।

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश आचार्यको नेतृत्वकाे पाँच सदस्यीय छानबिन समितिले हिरासत व्यवस्थापनमा प्रहरीबाट गम्भीर कमजोरी भएको औँल्याएको छ । प्रतिवेदनमा श्रीकृष्णमाथि शारीरिक वा मानसिक यातना दिएको प्रमाण नभेटिएको उल्लेख भए पनि ‘हिरासत व्यवस्थापन मार्गदर्शन २०८१’ को पूर्ण उल्लंघन भएको निष्कर्ष निकालिएको छ ।

प्रतिवेदनअनुसार हिरासतमा रहेका थुनुवाको सुरक्षा निगरानीका लागि डेडिकेटेड सुरक्षाकर्मी खटाइएको थिएन । हिरासत व्यवस्थापन अधिकृत बिदामा हुँदा वैकल्पिक व्यवस्था पनि गरिएको थिएन । लामो समयसम्म थुनुवाको नियमित निगरानी नभएको र ड्युटी प्रणाली प्रभावकारी रूपमा सञ्च लन नगरिएको प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा गम्भीर विषय भनेको घटनासँग सम्बन्धित सीसीटीभी फुटेज सुरक्षित नरहनु बनेको छ । छानबिन समितिले यसलाई प्रहरीको गम्भीर कमजोरीका रूपमा उल्लेख गरेको छ । खुर्कोट प्रहरीले भने ‘प्राविधिक समस्या’का कारण फुटेज सुरक्षित राख्‍न नसकिएको दाबी गरेको छ । तर, यही कारणले मृतकका परिवार र अधिकारकर्मीहरूले घटनाप्रति थप शंका व्यक्त गरेका छन् ।

छानबिन समितिले इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलमाथि विभागीय कारबाही सिफारिस गरेको छ । यस्तै ड्युटीमा रहेका सेन्ट्री अर्जुन सिंहमाथि पनि कारबाही गर्न भनिएको छ । ड्युटी अधिकृत बलबहादुर माझी, सुवेदार मेजर प्रहरी सहायक निरीक्षक दौलतविक्रम जोशी, प्रहरी सहायक निरीक्षक रामकाजी कार्की, गार्ड कमान्डर राजकुमार उप्रेती तथा सीसीटीभी निगरानीमा रहेका प्रहरी हवल्दार अरुणकुमार श्रेष्ठलाई चेतावनी दिँदै तत्काल जिम्मेवारीबाट हटाउन सुझाव दिइएको छ ।

प्रतिवेदनले सातदोबाटो प्रहरी वृत्तको भूमिकामाथि समेत प्रश्‍न उठाएको छ । अन्तरजातीय प्रेम सम्बन्ध र नाबालिग जोडिएको संवेदनशील विषयलाई प्रारम्भिक चरणमै गम्भीर रूपमा अनुसन्धान नगरी अन्यत्र पठाइएको भन्दै समितिले ध्यानाकर्षण गराएको छ । साथै, सिन्धुलीका जिल्ला प्रहरी प्रमुखले वर्षमा दुई पटक मात्र निरीक्षण गरेको उल्लेख गर्दै प्रहरीको सुपरिवेक्षण प्रणाली कमजोर रहेको निष्कर्ष निकालेको छ ।

तर, यो घटना प्रहरीको प्रशासनिक कमजोरीमा मात्र सीमित छैन । घटनाको सामाजिक र जातीय पाटोले पनि व्यापक बहस सिर्जना गरेको छ । श्रीकृष्ण विकका परिवार र दलित अधिकारकर्मीहरूको भनाइमा गैरदलित युवतीसँगको प्रेम सम्बन्धकै कारण उनीमाथि बालविवाह र जबरजस्ती करणीको आरोप लगाइएको थियो । युवती हराएको भन्दै सुरुमा सातदोबाटो प्रहरी वृत्तमा निवेदन दिइएको थियो । पछि त्यही निवेदन बालविवाह र जबरजस्ती करणीको जाहेरीमा रूपान्तरण भएको थियो ।

दलित अधिकारकर्मीहरूले यसलाई अन्तरजातीय सम्बन्धमाथिको सामाजिक प्रतिशोधको परिणामका रूपमा व्याख्या गरेका छन् । उनीहरूको भनाइमा श्रीकृष्णमाथि लागेको मुद्दा केवल कानुनी प्रक्रिया नभई समाजभित्र अझै गहिरो रूपमा जरा गाडेर बसेको जातीय विभेदको अभिव्यक्ति हो ।

घटनापछि प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, आशिष गजुरेल र लगायतले जिल्ला प्रशासन कार्यालय सिन्धुलीअगाडि धर्ना दिएका थिए । उनीहरूले घटनालाई सामान्य आत्महत्या भन्दै टुंग्याउन नहुने र राज्यले पूर्ण जिम्मेवारी लिनुपर्ने माग गरेका थिए ।

मानवअधिकारकर्मीहरूका अनुसार हिरासतमा रहेका व्यक्तिको सुरक्षाको सम्पूर्ण जिम्मेवारी राज्यको हुन्छ । प्रहरीले अनुसन्धानका नाममा कसैलाई नियन्त्रणमा लिएपछि उसको जीवन रक्षा गर्नु कानुनी तथा नैतिक दायित्व दुवै हो । यस्तो अवस्थामा हिरासतभित्रै मृत्यु हुनु र त्यसमा प्रहरीको लापरबाही देखिनु अत्यन्त गम्भीर विषय भएको उनीहरूको भनाइ छ ।

छानबिन समितिले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रहरीभित्र रहेको ‘दलित सेल’लाई थप प्रभावकारी र स्रोतसाधनयुक्त बनाउन सुझाव दिएको छ । महिला तथा बालबालिका सेवा केन्द्रसरह विश्वसनीय संरचना निर्माण गर्नुपर्ने, हिरासत कक्षका जोखिमयुक्त संरचना सुधार गर्नुपर्ने, चौबिसै घण्टा सीसीटीभी निगरानी अनिवार्य गर्नुपर्ने तथा सेन्ट्री ड्युटीको समय बढीमा तीन घण्टा मात्र राख्नुपर्ने सुझाव पनि समितिले दिएको छ ।

श्रीकृष्ण प्रकरणले सरकारमाथि पनि नैतिक दबाब बढाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वको सरकारले शपथ लिएकै दिन सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी सय कार्यसूचीमा दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि भएका विभेदप्रति राज्यका तर्फबाट औपचारिक क्षमायाचना गर्ने घोषणा गरेको थियो ।

तर, सरकारले सामाजिक न्यायको प्रतिबद्धता जनाइरहेका बेला प्रहरी हिरासतभित्र दलित युवकको मृत्यु हुनु र त्यसमा प्रहरीकै लापरबाही देखिनुले राज्यका प्रतिबद्धता व्यवहारमा कमजोर रहेको प्रश्‍न उठाएको छ ।

गुण्डुमा एमाले सचिवालय बैठक सुरु [तस्वीरहरू]

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु भएको बैठकमा यसअघि अध्यक्ष ओलीले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनबारे छलफल गरी निर्णय गर्ने तयारी गरिएको छ ।

गत पुसमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन अहिलेसम्म हुन सकेको थिएन । आजको बैठकले सो विषय टुंगो लगाउने अपेक्षा गरिएको छ ।

त्यसैगरी, बैठकमा पार्टी पुनर्गठन र रूपान्तरणको मुद्दामा केही नेता तथा कार्यकर्ताहरूले चलाइरहेको अभियानबारे पनि छलफल हुने बताइएको छ ।

‘काजी’ र ‘मितज्यू’को  बक्स अफिसमा भिडन्त

काठमाडौं। शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म ‘काजी’ र ‘मितज्यू’ देशभर प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिज अन्तर्गत सार्वजनिक भएका यी दुवै फिल्म एकअर्कासँग प्रतिस्पर्धा गर्दै हलहरूमा रिलिज भएका हुन् ।

यी दुई फिल्मको एकसाथ प्रदर्शनलाई फिल्म क्षेत्रमा ‘स्टार वार’ का रूपमा समेत हेरिएको छ । किनभने ‘काजी’ मा विपिन कार्की मुख्य भूमिकामा छन् भने ‘मितज्यू’ मा दयाहाङ राई र सौगात मल्लको जोडी देखिएको छ । यी कलाकारहरूको प्रतिस्पर्धाले दर्शकबीच चासो बढाएको छ । यद्यपि, देशभरका सबै हलमा यी फिल्मले पूर्ण एकल प्रदर्शन भने पाउन सकेका छैनन् ।

 

‘काजी’

विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘काजी’ लाई क्लासिक प्रेमकथामा आधारित भनिएको छ । फिल्मको निर्देशन लक्ष्मण रिजालले गरेका हुन् ।

फिल्ममा विपिन कार्कीसँगै केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र दिक्षिता अर्याललगायत कलाकारको अभिनय रहेको छ ।

प्रदीप भारद्वाजले लेखेको फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत रहेको छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो फिल्म ग्रामीण परिवेशमा आधारित छ । अभिनेता विपिन कार्कीले यसलाई आफ्नो करियरकै महत्वपूर्ण फिल्ममध्ये एक बताएका छन् ।

 

‘मितज्यू’

‘मितज्यू’ मा दयाहाङ राई र सौगात मल्लको जोडी पुनः पर्दामा देखिएको छ । यी दुईको उपस्थितिलाई नै फिल्मको प्रमुख आकर्षण मानिएको छ ।

यस फिल्मबाट टेरिया फौजा मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, टेरिया फौजा मगरसँगै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना रानामगर, अनुशा राई र खड्गबहादुर पुनमगरलगायत कलाकारको अभिनय छ ।

जनक घर्ती मगरको निर्माण रहेको फिल्म ग्रामीण परिवेशमा आधारित छ र यसले मित्रता तथा सामाजिक द्वन्द्वको कथा प्रस्तुत गर्ने बताइएको छ । फिल्मको निर्देशन अनिल बुढा मगरले गरेका हुन् ।

बकर ईदमा सार्वजनिक बिदा, लगातार चार दिन बिदा किन ?

काठमाडौं। सरकारले जेठ १४ गते बकर ईद (ईद–उल–अजहा)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले शुक्रबार विज्ञप्ति जारी गर्दै जेठ १४ गते बिहीबार सार्वजनिक बिदा रहने जानकारी दिएका हुन् ।

सरकारले यसअघि नै गत फागुन १८ गते राजपत्रमार्फत बकर ईदमा बिदा दिने निर्णय सार्वजनिक गरिसकेको थियो । मुस्लिम आयोगले पनि जेठ १४ गते नै ईद परेको जानकारी गराएपछि सोही अनुसार बिदा कार्यान्वयन गरिएको हो ।

त्यस्तै, जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा पनि सार्वजनिक बिदा परेको छ । त्यसपछि शनिबार र आइतबार नियमित बिदा हुने भएकाले लगातार चार दिन बिदा हुने भएको छ ।

pR-1779429805.jpg

अमेरिका-इरान तनाव : युरेनिय र होर्मुजको विषयमा मिलेन कुरो

एजेन्सी। अमेरिका र इरानबीच युरेनियम भण्डार र होर्मुज जलडमरूमध्यमाथिको नियन्त्रणलाई लिएर मतभेद जारी रहे पनि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्तामा केही सकारात्मक संकेत देखिएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको उच्च स्तरमा संवर्द्धित युरेनियम अन्ततः अमेरिकाको नियन्त्रणमा आउने दाबी गरेका छन् । अमेरिकाले उक्त युरेनियम आणविक हतियार निर्माणमा प्रयोग हुन सक्ने आशंका व्यक्त गर्दै आएको छ भने इरानले त्यसलाई शान्तिपूर्ण प्रयोजनका लागि भएको बताउँदै आएको छ ।

ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानलाई युरेनियमको स्वामित्व राख्न नदिने बताएका हुन् । उनले आवश्यक परे त्यसलाई नष्ट गरिने संकेतसमेत दिएका छन् ।

यता, रुबियोले होर्मुज जलडमरूमध्य प्रयोगमा शुल्क लगाउने प्रणाली लागू गरिए कूटनीतिक समाधान कठिन हुने बताएका छन् । यद्यपि उनले वार्तामा केही प्रगति देखिएको उल्लेख गर्दै आगामी केही दिन निर्णायक हुन सक्ने बताएका छन् ।

रोयटर्ससँग कुरा गरेका इरानी स्रोतका अनुसार हालसम्म कुनै औपचारिक सम्झौता भएको छैन । तर दुवै पक्षबीचका केही मतभेद कम हुँदै गएको जनाइएको छ । इरानको युरेनियम संवर्द्धन कार्यक्रम र होर्मुज जलडमरूमध्यमाथिको नियन्त्रण अझै प्रमुख विवादका विषय बनेका छन् ।

तनाव बढ्दै जाँदा अन्तर्राष्ट्रिय तेल बजारमा पनि उतारचढाव देखिएको छ । युद्ध समाधानको सम्भावनाप्रति अन्योल कायम रहँदा ऊर्जा बजार प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसअघि इरानी स्रोतहरूले सर्वोच्च नेता मोज्तबा खामेनीले युरेनियम विदेश नपठाउन निर्देशन दिएको बताएका थिए ।

ट्रम्पले होर्मुज जलडमरूमध्यलाई अन्तर्राष्ट्रिय जलमार्ग भन्दै त्यहाँ कुनै शुल्क प्रणाली स्वीकार्य नहुने बताएका छन् । युद्धअघि विश्वको ठूलो परिमाणमा तेल तथा प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने गरेको थियो ।

अमेरिकाले पुनः सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएपछि इरानको रिभोल्युसनरी गार्ड्सले पनि आवश्यक परे क्षेत्रीय सीमाभन्दा बाहिरसम्म प्रतिकार गर्ने चेतावनी दिएको छ ।

छ साताअघि कमजोर युद्धविराम लागू भएयता युद्ध अन्त्यका लागि भएका वार्तामा उल्लेख्य प्रगति हुन सकेको छैन । यसबीच पाकिस्तानका सेना प्रमुख असीम मुनिर थप छलफलका लागि तेहरान जान सक्ने बताइएको छ ।

पाकिस्तानका गृहमन्त्री सैयद मोहसिन नक्वीले हालै तेहरान भ्रमण गर्दै इरानी राष्ट्रपति मसुद पेजेशकियन र विदेशमन्त्री अब्बास अराक्चीसँग भेटवार्ता गरेका थिए ।

यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले यो द्वन्द्वले विश्वव्यापी ऊर्जा संकट निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

इरानी समाचार एजेन्सी आईआरएनएका अनुसार पछिल्लो २४ घण्टामा होर्मुज जलडमरूमध्यबाट ३१ जहाज मात्र गुज्रिएका छन् ।

ट्रम्प र बेन्जामिन नेतन्याहुले इरानको आणविक कार्यक्रम, क्षेप्यास्त्र क्षमता र इरान समर्थित समूहहरूमाथि नियन्त्रण आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् । तर इरानले अझै पनि उच्च स्तरको युरेनियम भण्डार, क्षेप्यास्त्र तथा ड्रोन क्षमता कायम राखेको बताइएको छ ।

७ वर्षदेखि फरार रहेका महरा फेटाबाट पक्राउ

काठमाडौं। सात वर्षअघि भएको एक घटनामा संलग्न रहेको आरोपमा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई बाराको फेटा गाउँपालिका-१ बाट पक्राउ गरेको हो ।

प्रहरीका सूचना अधिकारी मनिष श्रेष्ठका अनुसार पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका–४ का ३० वर्षीय पञ्चदेव महरा रहेका छन् ।

२०७६ साल चैत २३ गते चितवनको खैरहनी नगरपालिका–९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउन्डभित्र रहेको मजदुर बस्ने कच्ची घरको कोठामा फेटा गाउँपालिका–३ का ४६ वर्षीय सखिचन महरा मृत अवस्थामा फेला परेका थिए ।

उक्त घटनामा संलग्न रहेको आरोपमा उनलाई त्यसबेला इलाका प्रहरी कार्यालय रत्ननगर र इलाका प्रहरी कार्यालय खैरहनीको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । तर पछि उनी फरार रहेका थिए ।

हाल पक्राउ परेका महरालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यस्तो देखियो नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको सडकखण्ड [फोटो-फिचर]

काठमाडौं। काठमाडौं चक्रपथअन्तर्गत नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको सडकखण्ड अहिले चिटिक्क र व्यवस्थित देखिएको छ ।

७०० मिटर लामो उक्त सडकखण्डमा विस्तार कार्य सम्पन्न भएसँगै लेन मार्किङ, जेब्रा क्रसिङ तथा सडक रेखांकनको काम पनि सकिएको छ । कालोपत्रे गरिएको चिल्लो सडक, व्यवस्थित लेन र सफा संरचनाले यो खण्डलाई आकर्षक बनाएको छ ।

महाराजगन्जदेखि धोबीखोला (गोपीकृष्ण)सम्म सडक विस्तार गर्ने योजनाअन्तर्गत विनियोजित बजेटबाट यो खण्ड निर्माण गरिएको हो । चीनले चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म मात्र सडक निर्माण गर्ने भएपछि बीचमा पर्ने नारायणगोपाल चोक–चप्पल कारखाना खण्ड नेपाल सरकारले आफ्नै लगानीमा विस्तार गरेको हो ।
डिभिजन सडक कार्यालय, मीनभवनले २०८१ फागुनमा एम–एस अम्बुजा–काली एसके जेभीसँग २०८२ असारभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर निर्माण कार्य निर्धारित समयभन्दा झन्डै एक वर्ष ढिला गरी सम्पन्न भएको हो । यो सडकखण्ड निर्माणका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
निर्माण सम्पन्न भएको यो सडकखण्ड चक्रपथको कलंकी–कोटेश्वर खण्डकै मापदण्डअनुसार विस्तार गरिएको छ । उक्त १०.३९ किलोमिटर सडकखण्ड चीन सरकारको सहयोगमा विस्तार गरी २०७५ माघमा नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसपछि दोस्रो चरणअन्तर्गत कलंकीदेखि बसुन्धारासम्मको सडक विस्तारका लागि नेपाल र चीनबीच समझदारी भए पनि निर्माण प्रक्रिया अझै पूर्ण रूपमा अघि बढ्न सकेको छैन ।
हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत विभिन्न खण्डमा क्रमिक रूपमा काम भइरहेको छ । सरकारले काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप व्यवस्थापन गर्ने उद्देश्यसहित चक्रपथलाई आधुनिक र फराकिलो बनाउने योजना अघि बढाएको छ ।
नारायणगोपाल चोक–चप्पल कारखाना सडकखण्ड सम्पन्न भएसँगै महाराजगन्ज क्षेत्रको ट्राफिक व्यवस्थापनमा समेत सहज हुने अपेक्षा गरिएको छ ।

औषधी अभावले उपचारमा समस्या

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा औषधी तथा उपचारका लागि आवश्यक सामग्री अभाव भएपछि बिरामीहरू थप समस्यामा परेका छन् । उपचारका लागि आएका सेवाग्राहीले आवश्यक सेवा नपाउँदा अन्य अस्पताल जानुपर्ने बाध्यता बढेको छ ।

अस्पताल नजिक रहेका दुई वटा मेडिकलमा समेत चिकित्सकले सिफारिस गरेका औषधी उपलब्ध नभएपछि बिरामीहरूले महँगो खर्च गरेर अन्य जिल्लाका अस्पतालमा जानुपर्ने अवस्था आएको स्थानीयले बताएका छन् ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट उपचारका लागि आउने प्रमुख स्वास्थ्य संस्थामध्ये प्रतिष्ठान एक हो । तर हाल औषधी र शल्यक्रियाका लागि आवश्यक सामग्री अभावले सेवा प्रभावित भएको छ ।

हालै गुठीचौर गाउँपालिका–५ देपालागाउँकी माया नेपालीले एपेन्डिसाइटिसको शल्यक्रिया गराउन आवश्यक सामग्री उपलब्ध नभएपछि नेपालगन्जस्थित भेरी अस्पताल जान बाध्य भएको उदाहरणसमेत सार्वजनिक भएको छ ।

प्रतिष्ठानका प्रशासन प्रमुख द्वन्द्वबहादुर शाहीका अनुसार अघिल्लो वर्ष खरिद गरिएका औषधी सकिएपछि यस वर्षको ठेक्का प्रक्रिया अघि बढाउन नसक्दा समस्या उत्पन्न भएको हो । करिब १६ करोड रुपैयाँ बराबरको टेन्डर प्रक्रिया रद्द भएपछि औषधी तथा सामग्री अभाव भएको उनले बताए ।

शाहीका अनुसार अस्पतालमा आवश्यक औषधी तथा उपकरण खरिद गर्न र कर्मचारीलाई पारिश्रमिक दिनसमेत कठिनाइ भइरहेको अवस्था छ ।

प्रतिष्ठानले तत्काल आपूर्ति व्यवस्था नहुँदा स्वास्थ्य सेवा प्रवाहमा थप दबाब सिर्जना भएको जनाएको छ ।

माइक्रोसफ्ट पावरपोइन्टमा पनि च्याटजिपिटीको फिचर

काठमाडौं । ओपनएआईले च्याटजिपिटीलाई माइक्रोसफ्ट पावरपोइन्टसँग जोड्ने नयाँ सुविधा सार्वजनिक गरेको छ । यससँगै प्रयोगकर्ताले अब सामान्य भाषामा निर्देशन दिएर एआईमार्फत नयाँ प्रस्तुति स्लाइड बनाउन, सम्पादन गर्न तथा अद्यावधिक गर्न सक्ने भएका छन् ।

नयाँ सुविधामार्फत च्याटजिपिटीले जिमेल, आउटलुक र सेयरपोइन्टजस्ता सेवाबाट आवश्यक सामग्री संकलन गरी प्रस्तुति तयार गर्न सहयोग गर्नेछ ।

कम्पनीका अनुसार यो सुविधा हाल बिटा चरणमा भए पनि अधिकांश ओपनएआई प्रयोगकर्ता, नि:शुल्क प्रयोगकर्ता तथा च्याटजिपिटी बिजनेस सदस्यहरूका लागि उपलब्ध गराइएको छ ।

यसअघि एन्थ्रोपिकको क्लाउड च्याटबोटले सेप्टेम्बरदेखि यस्तै प्रकारको सुविधा प्रदान गर्दै आएको थियो भने गुगलको जेमिनी पनि गुगल स्लाइडसँग जोडिएको छ ।

ओपनएआईले पछिल्ला महिनामा आफ्ना प्रतिस्पर्धी कम्पनीका सुविधासँग मेल खाने गरी सेवा विस्तार गरिरहेको छ । यसअघि च्याटजिपिटीलाई माइक्रोसफ्ट एक्सेल र गुगल सिटजस्ता अफिस उपकरणसँग पनि प्रयोग गर्न मिल्ने बनाइएको थियो ।

किन बढ्दैछ युवामा ‘हार्ट अट्याक’ को जोखिम ?

काठमाडौं। नेपालमा पछिल्लो समय वृद्ध मात्र नभई युवा उमेरका व्यक्तिहरूमा पनि हृदयाघात (हार्ट अट्याक) का समस्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । पछिल्लो समय यसका कारण ज्यान गुमाउने घटनासमेत बढिरहेको छ ।

मुटुरोग विशेषज्ञ डा. मिलन श्रेष्ठका अनुसार युवामा ब्लड प्रेसर, सुगर र कोलेस्ट्रोलको समस्या तीव्र रूपमा बढ्दै गएको छ, जसका कारण हृदयाघातको जोखिम पनि उच्च बन्दै गएको हो ।

उनले भने, ‘पछिल्लो समय युवा उमेरमै ब्लड प्रेसर, सुगरजस्ता समस्या अत्यधिक बढिरहेका छन् । अत्यधिक महत्वाकांक्षी जीवनशैलीले पनि स्वास्थ्य समस्या निम्त्याएको छ ।’

डा. श्रेष्ठका अनुसार लामो समय काम गर्ने, राति अबेरसम्म बस्ने, शारीरिक व्यायाम नगर्ने तथा चुरोट-सुर्तीजन्य पदार्थको सेवन गर्ने बानीले युवामा मुटुरोगको जोखिम बढाइरहेको छ । मानसिक तनाव पनि महत्वपूर्ण कारण रहेको उनले बताए ।

उनका अनुसार हृदयाघात तब हुन्छ जब मुटुका रक्तनली साँघुरिएर वा बन्द भएर रक्तप्रवाह रोकिन्छ र मुटुका मांसपेशीहरूमा अक्सिजन नपुगेर तिनीहरू नष्ट हुन थाल्छन् ।

‘रक्तनलीमा बोसो जमेर ब्लकेज बढ्दै जाँदा छातीमा भारीपन, दुखाइ वा असहजता महसुस हुन सक्छ,’ उनले भने ।

उनले खानपानलाई पनि प्रमुख कारणको रूपमा औंल्याएका छन् । धेरै रातो मासु, चिल्लो पदार्थ, मदिरा तथा चुरोटको सेवनले कोलेस्ट्रोल, ब्लड प्रेसर र सुगर बढाउने र त्यसले मुटुमा प्रत्यक्ष असर गर्ने उनको भनाइ छ ।

त्यसैगरी नियमित व्यायाम नगर्ने व्यक्तिहरूमा मुटुरोगको जोखिम अझ बढी हुने उनले बताए ।

डा. श्रेष्ठका अनुसार अहिले हृदयाघातको उपचार सेवा धेरै ठाउँमा उपलब्ध भएकाले समयमै अस्पताल पुग्ने हो भने ज्यान जोगाउन सकिने सम्भावना बढेको छ । तर सामान्य छाती दुखाइलाई नै हृदयाघात ठानेर अनावश्यक रूपमा डराउने प्रवृत्ति पनि देखिएको उनले बताए ।

काभा महिला भलिबल : नेपालले भारतसँग खेल्दै

काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नेपालसहित सेन्ट्रल एसियाका ८ टोली सहभागी छन् ।

च्याम्पियनसिपको पहिलो दिन उद्घाटन समारोहसहित तीन खेल हुने तालिका रहेको छ । घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमै छिमेकी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताअन्तर्गत पहिलो खेल बिहान ११ बजे समूह ‘बी’ का इरान र बंगलादेशबीच हुनेछ । त्यसपछि दिउँसो २ बजे उद्घाटन समारोह आयोजना गरिनेछ । उद्घाटनपछि दिउँसो ३:३० बजे नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

दिनको अन्तिम खेलमा समूह ‘ए’ का किर्गिस्तान र माल्दिभ्स साँझ ६ बजे आमनेसामने हुनेछन् ।

च्याम्पियनसिपमा समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स रहेका छन् । समूह ‘बी’ मा इरान, काजाखस्तान, श्रीलंका र बंगलादेश सहभागी छन् ।

‘लालीबजार’ले कति कमायो ?

काठमाडौं । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ आजबाट तेस्रो सातामा प्रवेश गरेको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सका अनुसार फिल्मले हालसम्म ५ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ ।

कम्पनीका सीईओ म्याक्स दीपेश खत्रीले जेठ ७ गते राति ११:५९ बजेसम्म उक्त कमाइ भएको जानकारी दिएका हुन् । उनका अनुसार पहिलो साताको तुलनामा दोस्रो सातामा करिब १० प्रतिशत बढी दर्शकले फिल्म हेरेका छन् ।

देशका विभिन्न सहरमा दर्शकसँग भेटघाटमा सहभागी भएकी अभिनेत्री स्वस्तिमा खड्काले फिल्मप्रति दर्शकको माया देशभर समान रूपमा पाएको बताएकी छन् । उनले दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको उल्लेख गरिन् ।

फिल्मको कथा, निर्देशन र कलाकारहरूको अभिनयलाई दर्शकले प्रशंसा गरिरहेका छन् । धेरै दर्शकले फिल्मले आमाको संघर्ष र पारिवारिक भावनासँग आफूलाई जोडेको प्रतिक्रिया दिएका छन् । निर्माण पक्षले सकारात्मक ‘वर्ड अफ माउथ’ का कारण आगामी विकेन्डमा दर्शक संख्या अझ बढ्ने अपेक्षा गरेको छ ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टललगायत कलाकारको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले अभिनय यात्रा सुरु गरेका छन् । विशाल रंगमञ्चमा सक्रिय कलाकार हुन् भने प्रसंशा ‘जेनजी’ पुस्ताकी अभिनेत्रीका रूपमा परिचित छिन् ।

निर्देशक यम थापाको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्ममा प्रदीप भट्टराई कार्यकारी निर्माता रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।

नागरिक एपमा अब जन्म, विवाह र डिभोर्स प्रमाणपत्र लिंक गर्न मिल्ने

काठमाडौं। नागरिक एपले सेवा विस्तार गर्दै जन्म दर्ता, विवाह दर्ता तथा सम्बन्ध विच्छेदसम्बन्धी प्रमाणपत्र एपमै लिंक गर्न सकिने सुविधा सार्वजनिक गरेको छ । एपको नयाँ संस्करण २.०.१०० अपडेटपछि प्रयोगकर्ताले यी सेवा उपयोग गर्न सक्ने भएका छन् ।

नयाँ व्यवस्थाअनुसार व्यक्तिगत घटना दर्तासँग सम्बन्धित प्रमाणपत्रहरूलाई एपभित्र छुट्टै रूपमा समावेश गरिएको छ । यसका लागि होमपेजमा ‘भाइटल इभेन्ट सर्टिफिकेट्स’ नामक नयाँ सेक्सन थपिएको छ ।

यो सुविधामार्फत जन्म दर्ता प्रमाणपत्र लिंक गर्न दर्ता नम्बर र जन्ममिति राख्नुपर्नेछ । विवाह दर्ता प्रमाणपत्रका लागि दर्ता नम्बर र प्रमाणपत्र नम्बर आवश्यक पर्ने व्यवस्था गरिएको छ । त्यस्तै, सम्बन्ध विच्छेद प्रमाणपत्र लिंक गर्न दर्ता नम्बर तथा डिभोर्स सम्पन्न भएको मिति उल्लेख गर्नुपर्नेछ ।

यससँगै नागरिक एपमा अध्यागमनसम्बन्धी सेवा पनि थपिएको छ । अब भिजिट भिसामा विदेश जाने यात्रुले विमानस्थलमा अनिवार्य भरिनुपर्ने स्वघोषणा फाराम नागरिक एपमार्फत नै भर्न सक्नेछन् ।

सरकारले भिजिट भिसासम्बन्धी प्रक्रिया सहज र व्यवस्थित बनाउन यो सेवा सुरु गरिएको जनाएको छ । यसबाट विमानस्थलमा छुट्टै काउन्टरमा गएर फाराम भर्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ ।

सुन-चाँदीको भाउ आज कति ?

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्दै २ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार शुक्रबार चाँदी प्रतितोला ६५ रुपैयाँले वृद्धि हुँदै ५ हजार १ सय १५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

…जब १६० यात्रु बोकेको जहाजको ककपिटमा आगो देखियो…

काठमाडैं । एयर इन्डियको जहाजको इन्जिनमा आगो लागेपछि सुरक्षित ढंगले दिल्ली विमानस्थलमा अवतरण गरिएको छ ।

एयर इन्डियाको उडान एआई २८०२ नम्बरको उक्त जहाज बैंग्लोरदेखि दिल्ली जाँदै थियो । एयर इन्डियाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विमानमा १६० जना यात्रु सवार थिए ।’

उक्त विमान दिल्लीमा अतवरणको क्रममा थियो, त्यहीबेला ककपिट चालक दललाई एउटा इन्जिनमा आगो लागेको संकेत प्राप्त भयो । पछि यो संकेत सही भएको पाइएको एयर इन्डियाले जनाएको छ ।

‘चालक दलले सबै मानक सञ्चालन प्रक्रियाको पालना गर्‍यो र विमानलाई सुरक्षित रूपमा दिल्ली विमानस्थलमा उतार्‍यो । सबै यात्रु र चालक दल सुरक्षित छन् र उनीहरू सामान्य रूपमै विमानबाट बाहिर निस्किएका छन्,’ विज्ञप्तिमा छ ।

एयर इन्डियाले यस घटनाको तत्काल अनुसन्धान सुरु गर्ने बताएको बीबीसी हिन्दीमा समाचार छ ।

 

फेरि किन सम्झिए नेपालीहरुले सुवास नेम्बाङ र दमननाथ ढुंगाना ?

काठमाडौं । प्रतिनिधि सभा बैठकमा बिहीबार सभामुख डोलप्रसाद अर्यालले एमाले प्रमुख सचेतक ऐन महरलाई लक्षित गर्दै गरेको अभिव्यक्तिपछि उनको भूमिकामाथि चौतर्फी आलोचना सुरु भएको छ । र, त्यही आलोचनाबीच नेपालीहरूले पूर्वसभामुख सुवास नेम्बाङ र दमननाथ ढुंगानालाई स्मरण गर्न थालेका छन् ।

घटना बिहीबारको प्रतिनिधि सभा बैठकको हो । प्रतिनिधि सभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमबारे बोल्न समय माग्दै एमाले प्रमुख सचेतक महर उठेका थिए । त्यही बेला सभामुख अर्याल झोँकिए । उनले आक्रोशित शैलीमा भने, ‘माननीय सदस्य ऐन महरलाई कति घण्टा चाहिन्छ बोल्न ?’

सभामुखको आसनबाट आएको यो अभिव्यक्तिलाई प्रतिपक्षी दलहरूले अमर्यादित, असंसदीय र असहिष्णु व्यवहारको रूपमा व्याख्या गरेका छन् । आलोचकहरूका अनुसार यो सभामुखले आफ्नो संयमता गुमाएको क्षण थियो ।

संसदीय अभ्यासमा सत्ता र प्रतिपक्षबीच नोकझोक हुनु स्वाभाविक मानिन्छ । तर, त्यस्तो अवस्थामा सभामुखको भूमिका मध्यस्थकर्ता, संयोजक र सन्तुलनकर्ता हुने गर्छ । सभामुखबाट तटस्थता र धैर्यता अपेक्षा गरिन्छ । तर, बिहीबारको घटनाले सभामुख अर्याल प्रतिपक्षप्रति आक्रामक र सत्तापक्षप्रति नरम देखिएको टिप्पणी हुन थालेको छ ।

पछिल्ला दिनमा प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा अनुपस्थितिका विषयमा प्रतिपक्षले लगातार प्रश्न उठाइरहेको छ । प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिलाउनुपर्ने माग विपक्षी दलहरूको छ । तर, सभामुख अर्यालले पटक–पटक ‘ध्यानाकर्षण भएको छ’ भन्दै कार्यसूची अघि बढाइरहेका छन् । यही कारण उनको भूमिकामाथि ‘सत्तानुकूल’ भएको आरोप चर्किँदै गएको छ ।

बिहीबारको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा एउटा पुरानो भिडियो भाइरल हुन थाल्यो । त्यो भिडियो संविधान सभा अध्यक्ष सुवास नेम्बाङ र तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापाबीचको संवादको थियो ।

भिडियोमा नेम्बाङ सभामुखको आसनमा छन् भने कमल थापा रोष्ट्रममा उभिएर सार्वजनिक महत्वको प्रस्तावमाथि बोलिरहेका छन् । समय सकिएपछि नेम्बाङ मुस्कुराउँदै भन्छन्, ‘माननीय सदस्य, समय सकियो ।’

थापा मुस्कुराउँदै जवाफ दिन्छन्, ‘मैले सक्न लागेँ सभामुख महोदय ।’

त्यसपछि नेम्बाङ हल्का ठट्टामिश्रित शैलीमा भन्छन्, ‘सक्न लाग्यो भन्या त धेरै अघि हो माननीय सदस्य, अब त सक्नुपर्ने पो त ।’

त्यसपछि थापा झोँक्किन्छन् । उनी प्रस्ताव टेबुल नगरी फर्किन्छन् र सदनमा तनाव उत्पन्न हुन्छ । राप्रपा नेपालका सांसदहरू वेलतिर अघि बढ्छन् । तर, त्यस्तो तनावपूर्ण अवस्थालाई नेम्बाङले अत्यन्त शालीन, भद्र र संयमित शैलीमा व्यवस्थापन गर्छन् ।

यही भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ । धेरैले टिप्पणी गरिरहेका छन्- ‘सभामुख भनेको यस्तो हुनुपर्छ ।’

नेम्बाङको सभामुखीय शैली अहिले पुनः चर्चामा आउनुको कारण पनि यही हो । संविधान निर्माणजस्तो जटिल र संवेदनशील प्रक्रियामा उनले देखाएको धैर्यता, समन्वय क्षमता र सहनशीलताले उनलाई सफल सभामुखका रूपमा स्थापित गरेको मानिन्छ।

संविधानसभाभित्र चरम राजनीतिक ध्रुवीकरण, दलहरूबीच गम्भीर अविश्वास र पटक-पटकको अवरोधका बीच पनि उनले सदन सञ्चालनलाई नियन्त्रणबाहिर जान दिएनन् । राजनीतिक वृत्तमा अहिले पनि भनिन्छ- नेम्बाङको संयमता र सुझबुझबिनाको अवस्थामा संविधान जारी गर्न झन् कठिन हुने थियो ।

यतिबेला सभामुख अर्यालको शैलीसँग तुलना गर्दै धेरैले नेम्बाङको उदाहरण स्मरण गरिरहेका छन् ।

त्यसैगरी २०४८ पछिको संसदीय इतिहासका चर्चित सभामुख दमननाथ ढुंगानालाई पनि अहिले पुनः सम्झिन थालिएको छ । संसदीय मर्यादा, प्रतिपक्षप्रतिको सम्मान र लोकतान्त्रिक संस्कृतिको अभ्यासका कारण ढुंगानाको नाम अझै उदाहरणका रूपमा लिइन्छ ।

त्यसबेला नेकपा एमालेका सांसद विरोध खतिवडा सरकारका खरो आलोचक मानिन्थे । सदनमा बारम्बार विरोध गरिरहने खतिवडालाई लक्षित गर्दै सभामुख ढुंगानाले एकपटक भनेका थिए, ‘माननीय सदस्यको नामै विरोध, विरोध गरिरहनुहोस् । मेरो नामै दमन, म दमन गरिरहन्छु ।’

यो अभिव्यक्तिलाई अहिले पनि संसदीय विनोद, सहिष्णुता र लोकतान्त्रिक संस्कारको उदाहरणका रूपमा सम्झिने गरिन्छ । ढुंगानाले प्रतिपक्षलाई स्थान दिने, आलोचना सुन्ने र तनावलाई हास्य तथा संवादमार्फत व्यवस्थापन गर्ने शैली अपनाएको राजनीतिक वृत्तमा चर्चा हुने गर्छ ।

तर, अहिलेको प्रतिनिधि सभा बैठकमा देखिएको दृश्य भने फरक रहेको टिप्पणी भइरहेको छ । प्रतिपक्षी दलहरू वेल घेराउ गरिरहेका बेला सभामुख अर्यालले आक्रामक शैलीमा प्रस्तुत भएको, विरोधलाई बेवास्ता गर्दै कार्यसूची अघि बढाएको र प्रतिपक्षप्रति असहिष्णु व्यवहार देखाएको आरोप छ ।

संसदीय मामिलाका जानकारहरुका अनुसार सभामुखको आसन प्रक्रिया चलाउने पद मात्र होइन, लोकतान्त्रिक विश्वासको केन्द्र पनि हो । त्यहाँ बस्ने व्यक्तिले संयमता गुमाउँदा सदनको वातावरण झन् तनावपूर्ण बन्न सक्छ । अहिले सभामुख अर्यालमाथि उठिरहेको आलोचनाको मूल कारण पनि यही हो ।

सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले लेखिरहेका छन्- ‘सभामुखको कुर्सीमा बस्नु र सभामुखजस्तो देखिनु फरक कुरा हो ।’

संसदीय अभ्यासमा सभामुखको मूल्यांकन नियम पढेर बैठक चलाए/नचलाएको आधारमा हुँदैन । कठिन परिस्थितिमा उनले कति धैर्यता देखाए, प्रतिपक्षलाई कति सम्मान दिए र तनावलाई कसरी व्यवस्थापन गरे भन्ने आधारमा इतिहासले सम्झिन्छ ।

यही कारण अहिलेको विवादबीच नेपालीहरूले फेरि सुवास नेम्बाङ र दमननाथ ढुंगानालाई सम्झिरहेका छन् ।

विश्वकप खेल्ने जर्मनीको राष्ट्रिय टोली घोषणा

काठमाडौं । जर्मनीले अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपको २३औँ संस्करणका लागि राष्ट्रिय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक जुलियन नागेल्समेनले बिहीबार २६ सदस्यीय टोली सार्वजनिक गरेका हुन् भने जर्मनी फुटबल संघले पनि खेलाडी सूची औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

जर्मनी फिफा विश्वकपको दोस्रो सर्वाधिक सफल टोली हो । उसले सन् १९५४, १९७४, १९९० र २०१४ मा उपाधि जितेको छ भने चार पटक उपविजेता पनि बनेको छ । विश्वकप इतिहासमै सबैभन्दा बढी फाइनल खेल्ने टोलीमध्ये जर्मनी एक हो ।

यस पटक जर्मनी समूह ‘ई’ मा परेको छ । टोलीले विश्वकपको सुरुआत कुराकाओसँग गर्नेछ । जर्मनीले जुन १४ मा कुराकाओ, जुन २१ मा आइभोरी कोस्ट र जुन २६ मा इक्वेडरसँग खेल्ने तालिका रहेको छ ।

इक्वेडरसँगको हेड-टु-हेडमा जर्मनी १-० ले अगाडि छ भने आइभोरी कोस्ट र कुराकाओसँग भने यो पहिलो अन्तर्राष्ट्रिय भेट हुनेछ ।

जर्मनीको २६ सदस्यीय टोलीमा ओलिभर बाउमेन, म्यानुअल नुएर, अलेक्जेन्डर नुबेल, पास्कल ग्रोस, जोशुआ किमिच, फेलिक्स मेचा, अलेक्जेन्डर पाभ्लोभिच, एञ्जेलो स्टिलर, नडिएम अमिरी, लिओन गोरेट्ज्का, वाल्डेमार एन्टोन, नथानियल ब्राउन, डेविड राउम, एन्टोनियो रुडिगर, निको श्लोटरबेक, जोनाथन ताह, मालिक थियाव, काइ हाभर्ट्ज, लेनार्ट कार्ल, जमाल मुसियाला, फ्लोरियन विर्ट्ज, म्याक्सिमिलियन बिएर, जेमी लावालिङ, लिरोय साने, डानिज उन्डाव र निक वोल्टेमाडे रहेका छन् ।

टेस मिसन : भेटियो ६ हजार बढी नयाँ ग्रह ?

एजेन्सी। नासाको बाह्यग्रह खोज्ने अन्तरिक्ष यान ‘ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइट (टेस)’ ले पृथ्वी वरिपरिको आकाशको अहिलेसम्मकै ठूलो खोज सार्वजनिक गरेको छ। यस नक्सामा हाम्रो सौर्यमण्डल बाहिरका करिब ६,००० सम्भावित नयाँ ग्रहहरूको पहिचान गरिएको छ।

यो तथ्यांक सन् २०२५ सेप्टेम्बरसम्म टेस मिसनको दोस्रो विस्तारित चरण सम्पन्न भएपछि संकलन गरिएको हो। टेस सन् २०१८ अप्रिलमा केप क्यानाभेरलस्थित अन्तरिक्ष प्रक्षेपण केन्द्र-४० बाट प्रक्षेपण गरिएको थियो।

नासाको गोडार्ड अन्तरिक्ष उडान केन्द्रकी टेस सह-परियोजना वैज्ञानिक रेबेका होउनेलका अनुसार, टेस विगत आठ वर्षमा बाह्यग्रह अनुसन्धानका लागि अत्यन्त महत्वपूर्ण स्रोत बनेको छ। उनका अनुसार, ‘यो मिसन ‘अत्यधिक ठूलो डेटा प्रवाह’ जस्तै भएको छ। जसले बुध ग्रहजस्ता साना ग्रहदेखि बृहस्पति भन्दा पनि ठूला ग्रहसम्मका विविध खगोलीय पिण्डहरू फेला पार्न सहयोग गरेको छ।’

टेस मिसनले ग्रहहरूलाई तिनीहरूका ताराको अगाडि जाँदा हुने अत्यन्त सानो प्रकाश घटावट (ट्रान्जिट) अध्ययन गरेर पहिचान गर्छ। यस प्रक्रियामा हजारौँ ताराहरूको प्रकाशलाई निरन्तर रूपमा विश्लेषण गरिन्छ। जसबाट ग्रहको उपस्थिति अनुमान गर्न सकिन्छ।

नयाँ प्रकाशित सम्पूर्ण आकाशीय नक्सा ९६ वटा आकाशीय क्षेत्रहरूको अवलोकनमा आधारित छ, जुन सन् २०१८ अप्रिलदेखि २०२५ सेप्टेम्बरसम्म संकलन गरिएको हो। यस नक्सामा करिब ७०० पुष्टि भएका बाह्यग्रहहरू देखाइएका छन् भने बाँकी हजारौँ ‘सम्भावित ग्रह’ अझै पुष्टि हुन बाँकी रहेका छन्।

वैज्ञानिकहरूका अनुसार यीमध्ये केही ग्रहहरू अत्यन्तै अनौठा छन्। केही आफ्नै ताराबाट नष्ट भइरहेका छन्। भने केही ग्रहहरू अत्यधिक ज्वालामुखीय गतिविधिले प्रभावित छन्। यस्ता अवस्थाहरूले ग्रहहरूको जीवनचक्र बुझ्न नयाँ संकेत दिन सक्ने विश्वास गरिएको छ।

टेस मिसनले हालै मात्र यस्तो ग्रह प्रणाली पनि पत्ता लगाएको छ। जसमा ‘सुपर-पृथ्वी’ र अर्को ग्रह अत्यधिक झुकेको र अण्डाकार कक्षामा घुमिरहेका छन्। 

साथै, दुई ग्रहहरू आपसमा ठोक्किएर ठूलो धुलो-ग्यासको बादल बनाएको प्रमाण पनि फेला परेको छ। जसले सम्भवतः पृथ्वी र अन्य खगोलीय पिण्डबीचको पुरानो टक्करबारे बुझ्न मद्दत गर्न सक्छ। त्यही घटनाबाट चन्द्रमाको उत्पत्ति भएको हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ।

नासाका टेस परियोजना वैज्ञानिक एलिसन यङब्लडका अनुसार, ठूलो तथ्यांकको विश्लेषण गर्दै जाँदा अझ धेरै आश्चर्यजनक तथ्यहरू फेला पर्ने सम्भावना हुन्छ। उनका अनुसार टेसले केवल ग्रह मात्र होइन, युवा ताराहरूको गतिविधि, आकाशगङ्गीय परिवर्तन, तथा पृथ्वी नजिकका क्षुद्रग्रहहरूको निगरानीमा पनि महत्वपूर्ण योगदान दिइरहेको छ।

लोकतन्त्र कि संख्यातन्त्र?

‘यो प्रस्तावको पक्षमा हुने माननीयहरूले हुन्छ भन्नुहोला र विपक्षमा हुनुहुने माननीयहरूले हुन्न भन्नुहोला।’

‘प्रस्तावको पक्षमा हुने माननीयहरूले हुन्छ भन्नुहोस्।’

‘प्रस्तावको विपक्षमा हुने माननीयहरूले हुन्न भन्नुहोस्।’

‘हुन्छ भन्ने माननीयहरूको बहुमत भएकाले यो प्रस्ताव पारित भएको घोषणा गर्दछु।’

बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्याल (डिपी) ले सभा सञ्चालन गर्दैगर्दाको दृश्य हो यो। न कुनै छलफल, न कुनै संशोधन, न कुनै बहस। धमाधम स्वीकृत अनि धमाधम अस्वीकृत।

बिहीबारको बैठकमा पनि प्रतिपक्षी दलहरूले सदनमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको उपस्थिति खोजे। त्यस क्रममा बैठक केही समय स्थगित भयो। सभामुख अर्याल शाहसँग छलफल गर्न प्रधानमन्त्रीको कार्यालय पनि पुगे। तर छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि उनी संसद भवन फर्के र विपक्षीहरूलाई पेलेरै सभा सञ्चालन गर्ने तर्फ अग्रसर देखिए।

क्रमशः अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा केही प्रस्ताव पेस गरे। सरकारसँग करिब दुईतिहाइ बहुमत छ। त्यही आडमा बिना कुनै छलफल, संशोधन र बहस ती प्रस्तावहरू हुन्छ भन्ने आवाजमा पारित भए। जस्तो चुनावमा रास्वपाको नारा थियो, ‘चुपचाप घन्टी छाप’। हो, त्यस्तै। सरकारले सदनबाट त्यसैगरी आफ्ना प्रस्ताव पारित गर्‍यो- ‘चुपचाप’। उसले न आफ्ना सांसदलाई बोल्न दियो, न विपक्षीलाई।

उसो त बोल्न नजानेर हो, या बोल्न नसकेर हो कि बोल्न नपाएर पो हो, रास्वपाका सांसदहरूले आफ्नो सरकारका विरुद्ध आलोचनात्मक टिप्पणी दिने ल्याकत राख्दैनन्। अस्ती पत्रकार विजयकुमार पाण्डेले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेका थिए, ‘रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद ‘स्वतन्त्र’ छन्- रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह।’ साँच्ची, त्यस्तै देखिन्छ बाहिर। मानौँ उनीहरूलाई बाँधिएको छ- नबोल्नु भनिएको छ। बोले पनि सबैले एउटै कुरा बोल्छन्, स्क्रिप्ट पढेजस्तो।

प्रधानमन्त्री संसदमा आउँदैनन्। प्रश्नहरूप्रति जिम्मेवारी महसुस गर्दैनन्। संसदको हुर्मत लिएर हिँड्छन्। राष्ट्रपतिको अपमान गर्छन्।

नीति तथा कार्यक्रममाथि संसदमा छलफल गर्ने कार्यसूची रहन्छ। अर्थमन्त्री उपस्थित हुँदैनन्। परराष्ट्रमन्त्री अर्थमन्त्रीको सट्टामा आउँछन्।

सदनमा विभिन्न विधेयकहरू प्रस्तुत गर्नुपर्ने हुन्छ। छलफल गर्नुपर्ने हुन्छ। बहस गर्नुपर्ने हुन्छ। संशोधन गर्नुपर्ने हुन्छ। तर विधेयक प्रस्तुत गर्न सम्बन्धित व्यक्ति उपस्थित हुँदैनन्।

प्रतिपक्षले सदन अवरोध गर्छ। प्रस्तुत विधेयकमा छलफल, बहस केही हुँदैन। र, विधेयक छलफल र बहसबिनै पारित हुन्छन्। त्यसो भए त सांसद पद पनि भत्काइदिए भइहाल्यो नि।

रास्वपा सांसद अमरेशकुमार सिंहले सदनमा भनेजस्तै, ‘परम्परा तोड्ने नाउँमा सबै परम्परा तोडिँदैन। हामी पाँचौँ चोटिको सांसद पनि सबै परम्परा भत्काउँदै गयौँ भने संसदको औचित्य समाप्त हुन्छ। नयाँको नाउँमा सबै भत्काउने होइन। त्यसो भए सिंहदरबार पनि भत्काऔँ, प्रधानमन्त्री पद पनि भत्काऔँ, मन्त्री पद पनि भत्काऔँ, सबै चीजहरू चेन्ज गरौँ।’

तपाईंहरूलाई याद छ?

राष्ट्रिय स्वतन्त्र पार्टीले अघिल्लो संसदमा ३ महिना ९० दिन अवरोध गरेको थियो। पार्टीका उपसभापति थिए डिपी अर्याल। अहिलेका सभामुख। रास्वपा त्यतिबेला संसदीय मान्यता र अभ्यासको यस्तो वकालत गर्थ्यो, मानौँ यो देशमा लोकतन्त्रको विजारोपण रास्वपाले नै गरेको हो। सभामुखले भनेको नसुन्ने, संसदमा निलो स्कार्फ पहिरिएर जाने, सभामुखको अगाडि कपी लिएर बस्ने। रास्वपाका त्यतिबेलाका नित्यकर्मजस्तै थिए यी कार्यक्रमहरू। रास्वपाले संसद पढाउँथ्यो त्यो बेला। नियमावलीको ठूलो ठूलो स्वरमा व्याख्या गर्थ्यो।

तर ठ्याक्कै उल्टो छ अहिले। रास्वपा सरकारमा छ र एमाले, कांग्रेसलगायतका दल प्रतिपक्षमा छन्।

अर्याल सभामुख  छन् । कुनैबेला संसद र नियमावली पढाउने डिपी अहिले प्रतिपक्षको आवाज सुन्न चाहँदैनन्। हुन त २१ फागुनको चुनावअघि एउटा सम्बोधनमा अर्यालले यसपटकको संसद प्रतिपक्षविहीन बनाउने भनेर भाषण गरेका थिए। चुनावमार्फत उनको त्यो इच्छा भने पूरा हुन सकेन। तर सभामुख बनेपछि सभामुखको आसनबाट भने उनले त्यसको भरमग्दुर अभ्यास गरिरहेका छन्। 

सदन अहिले एमाले-कांग्रेस-नेकपा, श्रम संस्कृति र राप्रपाले अवरोध गर्छन्। तर सभामुखले विपक्षीसँग छलफल गर्दैनन्, पेलेर अघि बढ्छन्।

सरकारलाई सत्ताको र संख्याको यस्तो मात चढेको छ, मानौँ उनीहरूले जे गरे पनि सही कहलिन्छ। उनीहरूले भुल्न त नहुने यति छिट्टै कि अघिल्ला सरकार र शासकका यस्तै गतिविधि र प्रवृत्तिका कारण उनीहरू यो स्थानमा पुगेका हुन्। तर उनीहरूले भुलेजस्तो छ। यसैले हाेला उनीहरू पनि त्यही बाटोमा देखिन्छन्- ‘पतनको बाटोमा’।

जी.ओ. अटोमोबाइल्स ले नेपालमा ल्यायो ‘एमजी हेक्टर’ [फोटो-फिचर]

काठमाडौं। जी.ओ. अटोमोबाइल्स प्रालिले नेपालमा एमजी मोटर इन्डियाको नयाँ एसयूभी ‘एमजी हेक्टर’ औपचारिक रूपमा सार्वजनिक गरेको छ । प्रारम्भिक मूल्य ६६.९९ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

काठमाडौंको थापाथलीस्थित एमजी शोरुममा आयोजित कार्यक्रममा गाडी सार्वजनिक गर्दै बिक्री-वितरण समेत सुरु गरिएको हो ।

कम्पनीका अनुसार पछिल्लो समय बजारमा ल्याइएका एमजी विन्डसर र एमजी कमेटको सफलतापछि नयाँ मोडेलका रूपमा एमजी हेक्टर नेपाली बजारमा ल्याइएको हो ।

नयाँ एसयूभीलाई आधुनिक डिजाइन, प्रविधियुक्त सुविधा र सेग्मेन्टअनुसारका विशेषतासहित प्रस्तुत गरिएको कम्पनीको भनाइ छ ।

‘ककरोच जनता पार्टी’ ‘भाजपा’लाई पछि पार्दै

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘ककरोच जनता पार्टी’ नामक अकाउन्ट तीव्र गतिमा भाइरल भएको छ । पाँच दिनभन्दा कम अवधिमै यस अकाउन्टलाई १ करोड ५० लाखभन्दा बढी प्रयोगकर्ताले फलो गरेका छन् ।

यससँगै उक्त अकाउन्टले भारतका दुई ठूला राजनीतिक दल भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय कांग्रेसका आधिकारिक इन्स्टाग्राम ह्यान्डललाई समेत पछाडि पारिदिएको बताइएको छ ।

यसैबीच, ‘ककरोच जनता पार्टी’ को एक्स (पूर्व ट्विटर) अकाउन्ट भने भारतमा ब्लक गरिएको छ । संस्थापकले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै आफ्नो अकाउन्ट भारतमा ‘विथहेल्ड’ (प्रतिबन्धित) गरिएको स्क्रिनसटसहित जानकारी दिएका हुन् ।

उनका अनुसार अकाउन्ट सुरुमा ह्याक गर्ने प्रयास गरिएको थियो र अहिले कुनै स्पष्ट कारणबिना नै प्रतिबन्ध लगाइएको छ । यद्यपि, उक्त अकाउन्ट अन्य देशहरूमा भने अझै सञ्चालनमा रहेको बताइएको छ ।

सुरुमा मिम प्लेटफर्मको रूपमा सुरु भएको यो अकाउन्ट छोटो समयमै युवामाझ लोकप्रिय बनेको छ । यसका पोस्टहरूमा राजनीतिक व्यङ्ग्य, प्रशासनिक प्रणालीमाथिको कटाक्ष तथा भाइरल मिम सामग्रीहरू समावेश छन् ।

सामाजिक सञ्जाल विशेषज्ञहरूका अनुसार यसको तीव्र लोकप्रियताको पछाडि इन्स्टाग्राम एल्गोरिदम, समयअनुकूल कन्टेन्ट र आकर्षक प्रस्तुतीकरणको महत्वपूर्ण भूमिका रहेको छ ।

सभामुख डीपी अर्यालको भूमिका सत्ता अनुकूल, विपक्ष प्रतिकूल

काठमाडौं । प्रतिनिधि सभा बैठकमा पछिल्ला दिनमा देखिएको राजनीतिक गतिरोधसँगै सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्‍न उठ्न थालेको छ।

संसदीय परम्पराअनुसार सदनको नेतृत्व गर्ने सभामुखलाई तटस्थ र सबै दलप्रति समान दूरीमा रहने अपेक्षा गरिन्छ। तर हालका गतिविधिले अर्यालको भूमिका सत्तापक्षलाई अनुकूल र प्रतिपक्षप्रति कठोर देखिएको आरोप सतहमा आएको छ। गत केही दिनदेखि सदनमा सत्तापक्षका एजेन्डाहरू सहजै अघि बढाइएका छन्।

विधेयकहरू तीव्र गतिमा स्वीकृत गरिँदै छन्। तर प्रतिपक्षले उठाएका विषय र मागलाई सभामुखले बेवास्ता गरेको प्रतिपक्षको आरोप छ। संसदीय प्रणाली अनुसार विपक्षीका आवाजलाई सभामुखले सुन्‍नुपर्ने मान्यता छ। अर्यालले भने त्यसलाई पर्वाह नगरी सरकार पक्षले अघि बढाएको कार्यसूचीलाई नै प्राथमिकता दिएको टिप्पणी भइरहेका छन्।

प्रतिपक्षको मुख्य माग प्रधानमन्त्री बालेन्द्र शाहको सदनमा उपस्थिति थियो। प्रधानमन्त्री पछिल्लाेपटक गत २८ वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन प्रतिनिधि सभामा देखिएका थिए। नीति कार्यक्रम सार्वजनिक भइरहेको अवस्थामा नै उनी बैठकबाट बाहिरिए। त्यसपछि उनी सदनमा फर्केका छैनन्, जसलाई प्रतिपक्षले असंसदीय, गैरजिम्मेवार र संसदको अपमानका रूपमा व्याख्या गरेको छ।

प्रतिपक्षले नीति तथा कार्यक्रममाथि उठेका प्रश्‍नहरूको जवाफ प्रधानमन्त्रीबाटै माग्दै आएको थियो। तर, सभामुख अर्यालले हरेकपटक ‘माननीय सदस्यहरूले उठाउनुभएको विषयमा मेरो ध्यानाकर्षण भएको छ’ भन्‍ने कथन दोहोर्‍याए।

उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन नसकेपछि त्यसको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई दिइयो। प्रतिपक्षले आपत्ति जनाए पनि सदनको कार्यसूची यथावत् अघि बढाइयो।

बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरू हुँदा पनि प्रतिपक्षले प्रधानमन्त्रीको उपस्थितिको माग राख्यो। तर, सभामुखबाट फेरि उही जवाफ आयो- ध्यानाकर्षण। प्रधानमन्त्री अनुपस्थितकै अवस्थामा सदन चलाइने प्रक्रिया दोहोरिँदै जाँदा प्रतिपक्ष झनै चिढिएको थियो।

यसैबीच बिहीबार सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरे र सोही अवधिमा प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे। फर्किएपछि सदन सञ्‍चालन गरे । फेरि पनि प्रतिपक्षको कडा विरोध भयाे । उनले सदन निरन्तर चलाए ।प्रतिपक्षले उनी तटस्थता र निष्पक्षताको भूमिकाबाट च्युत हुँदै सरकार पक्षप्रति झुकाव देखाइरहेको आरोप बलियोसँग उठायो।

अर्यालमाथि यस्तै व्यवहारको आरोप यसअघि पनि लागेको थियो। श्रम संस्कृति पार्टीका अध्यक्ष  हर्क साम्पाङलगायत सांसदहरूले सदनमा गरेको प्रदर्शनका क्रममा उनले कठोर नियमको चेतावनी दिएको प्रसंग अहिले पनि चर्चामा आयो।

बिहीबारको बैठकमा पनि नेपाली कांग्रेसका सचेतक निष्कल राई, एमाले प्रमुख सचेतक ऐन महर, नेकपा प्रमुख सचेतक युवराज दुलाल, श्रम संस्कृति पार्टीका नेता आरेन राई र राप्रपाकी सचेतक खुश्बु ओलीले सभामुखकै व्यवहार आपत्तिजनक रहेको भन्दै एक स्वरमा आलोचना गरे।

प्रधानमन्त्रीसँग मासिक प्रश्नोत्तर नगरिकन सदन चलाइँदा प्रतिपक्षले सभामुखलाई बारम्बार जवाफदेहिता माग्यो। तर सभामुखको जवाफ हरेकपटक उही वाक्यमा सीमित रह्यो-ध्यानाकर्षण भएकाे छ।

यसैबीच प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री  सोविता गौतमले प्रतिनिधि सभा निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ सदनमा निर्णयार्थ प्रस्तुत गरिन्। बहुमतले उक्त विधेयक पारित गर्‍याे। त्यसपछि उनले नै पेश गरेको मतदाता नामावली (पहिलो संशोधन) विधेयकमाथि छलफल अघि बढाइयो। प्रतिपक्षले निरन्तर विरोध गरिरहे पनि सभामुखले सदनको कार्यसूची अवरुद्ध हुन दिएनन्।

यसले प्रतिपक्षबीच एउटा गहिरो प्रश्‍न उठाएको छ- संसदमा बहस र सहमतिको संस्कृति विकास गर्नुपर्ने संवैधानिक पदमा बसेका सभामुख अर्यालले आफ्नो भूमिकालाई तटस्थताको सीमाभन्दा बाहिर लगे कि? प्रतिपक्षका नजरमा उनी आफ्नो पूर्वराजनीतिक दल र सरकारप्रति ‘बफादारी’ देखाउने स्थितिमा पुगेका छन्।

निष्पक्षता, समावेशिता र सन्तुलनमा आधारित संसदीय परम्परा सभामुखको आचरणबाट क्षतिग्रस्त भएको प्रतिपक्षको भनाइ हो। सदनको स्वाभिमान र लोकतान्त्रिक अभ्यास धुमिल बनाउने यस्तो व्यवहार सभामुखकै कारण उत्पन्‍न भएको भन्दै उनीहरू सभामुख अर्यालमाथि कडा आपत्ति जनाइरहेका छन्।

नासा सेक्युरिटिजको ‘नासा एक्स सेल्फ सर्भिस एप’ सार्वजनिक, के गर्छ यसले ?

एजेन्सी। नासा सेक्युरिटिजले आफ्नो डिजिटल ट्रेडिङ प्लेटफर्मलाई परिष्कृत गर्दै ‘नासा एक्स सेल्फ सर्भिस एप’ सार्वजनिक गरेको छ । कम्पनीले आधुनिक लगानीकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै एपलाई अझ स्मार्ट, छिटो र सुरक्षित बनाइएको जनाएको छ ।

कम्पनीका अनुसार डिजिटल रूपान्तरण र लगानीकर्ताको सशक्तीकरणलाई प्राथमिकतामा राखेर एप अपग्रेड गरिएको हो । नयाँ संस्करणमा आधुनिक ‘युजर इन्टरफेस’ (यूआई), ‘बायोमेट्रिक लग इन’, ‘एएमओ अर्डर’, ‘टिकट जेनेरेसन’, ‘हिटम्याप्स’ र ‘मोबाइल चार्टिङ टुल्स’जस्ता सुविधा थपिएका छन् ।

एपका मुख्य विशेषताहरू:

नयाँ युजर इन्टरफेस 
एपलाई अझ सहज र आधुनिक बनाइएको छ । यसले प्रयोगकर्तालाई छिटो र सरल तरिकाले सेवा प्रयोग गर्न सहयोग गर्ने कम्पनीको दाबी छ ।

बायोमेट्रिक लग इन
औँठाछाप वा अनुहार पहिचानमार्फत लगइन गर्न सकिने सुविधा थपिएको छ, जसले सुरक्षा र सहजता दुवै बढाउने बताइएको छ ।

आफ्टर मार्केट अर्डर  
शेयर बजार बन्द भएपछि पनि खरिद-बिक्री अर्डर राख्न सकिने सुविधा समावेश गरिएको छ, जसले व्यस्त वा विदेशमा रहेका लगानीकर्तालाई सहज बनाउने अपेक्षा गरिएको छ ।

टिकट जेनेरेसन
ग्राहक सेवा समस्याहरू एपबाटै दर्ता गर्न सकिने प्रणाली जोडिएको छ, जसले समाधान प्रक्रिया पारदर्शी बनाउने कम्पनीको भनाइ छ ।

हिटम्याप्स
रङको आधारमा बजारको उतारचढाव एकै नजरमा बुझ्न सकिने सुविधा थपिएको छ, जसले लगानीकर्तालाई बजार विश्लेषणमा सहयोग गर्नेछ ।

मोबाइल चार्टिङ टुल्स
मोबाइलमै प्राविधिक विश्लेषण गर्न सकिने सुविधा उपलब्ध गराइएको छ, जसले लगानी निर्णयलाई सहज बनाउने बताइएको छ ।

कम्पनीका अनुसार उक्त एप हाल एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ । नासा सेक्युरिटिजले पुराना प्रयोगकर्तालाई एप अपडेट गर्न र नयाँ प्रयोगकर्तालाई दर्ता गरी सेवा सुरु गर्न आग्रह गरेको छ ।

जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, दर्जन बढी बिरामी

पाल्पा । पाल्पामा विषालु जंगली च्याउ सेवनका कारण दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी बिरामी परेका छन् ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिका–५ ताहुँ ओमभन्ज्याङ नजिकै बस्ने ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार खाम्चाको बुधबार र कामु मगरको मंगलबार तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो ।

विषालु च्याउ सेवनपछि जिल्लाका विभिन्न स्थानमा अन्य व्यक्तिहरू पनि बिरामी परेका छन् । तानसेन नगरपालिकाका ८ वर्षीय एक बालक र रम्भा गाउँपालिका ताहुँकी ५० वर्षीया महिलाको अवस्था गम्भीर रहेको बताइएको छ ।

बालकको लुम्बिनी मेडिकल कलेजको आईसीयूमा तथा महिलाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, माथागढी गाउँपालिका–३ कसेनीका चार जनालाई उपचारपछि केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । तानसेनको भालुवन क्षेत्रका चार जना भने अझै मिसन अस्पतालमा उपचाररत छन् ।

निस्दी गाउँपालिका–४ झ्याटुङका दुई जनालाई पनि विषालु च्याउ सेवनपछि भरतपुरस्थित अस्पतालमा उपचारका लागि पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले प्रि-मनसुनको समयमा जंगलमा उम्रिने च्याउहरू प्रायः विषालु हुने भएकाले अपरिचित च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

कार्यालयले जिल्लाका स्थानीय तहहरूलाई सचेतना कार्यक्रम सञ्चालन गर्न र जोखिम न्यूनीकरणका लागि जनचेतना फैलाउन निर्देशनसमेत दिएको जनाएको छ ।

आगामी बजेटका लागि वाग्लेले लिए ८ पूर्वअर्थमन्त्रीसँग सुझाव,को-को सँग ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणअघि पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन् ।

काठमाडौंमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री वाग्लेले सुशासनमा आधारित भएर नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बजेट ल्याउने तयारी भइरहेको बताए । उनले बजेटलाई प्रभावकारी बनाउन पूर्वअर्थमन्त्रीहरूको अनुभव र सुझाव आवश्यक रहेको उल्लेख गरे ।

पूर्वअर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताए । उनले तयारी नै नभएका टुक्रे आयोजनामा बजेट नछर्न र विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन सुझाव दिए ।

पूर्वअर्थमन्त्री शंकर कोइरालाले विगतका आर्थिक प्रतिवेदनहरू कार्यान्वयन गर्नुपर्ने बताए । उनले विद्युत व्यापार निजी क्षेत्रलाई खुला गर्न, वनसम्बन्धी अवरोध हटाउन, नयाँ उद्योग तथा औद्योगिक क्षेत्र विस्तार गर्न र हेजिङ नीति अघि बढाउन सुझाव दिए ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेट यथार्थपरक सीमाभित्र राख्नुपर्नेमा जोड दिए । उनले राजस्व वृद्धिको लक्ष्य अत्यधिक नराख्न, कर संरचना स्थिर राख्न तथा अन्तशुल्क र अनावश्यक कर घटाउनुपर्ने बताए ।

उनले दुई दरको भ्याट प्रणालीमा नजान, उपभोक्ता समितिमार्फत विकास कार्य रोक्न, स्वास्थ्य बीमा विस्तारमा सावधानी अपनाउन र राष्ट्रिय गौरवका आयोजनाको पुनःसंरचना गर्नुपर्ने सुझाव दिए ।

खतिवडाले निजी क्षेत्रको मनोबल बढाउन, वित्तीय क्षेत्र सुधार गर्न, एलडीसी स्तरोन्नतिको तयारी गर्न र ग्रे लिस्टबाट बाहिर निस्कन कूटनीतिक पहल आवश्यक रहेको बताए ।

पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउनुपर्ने बताए । उनले सबै तहका उद्योगलाई प्रोत्साहन गर्ने नीति लिन, कृषि अनुदान प्रभावकारी बनाउन र भारतीय बजारमा कृषि उपज निर्यातका लागि पहल गर्न सुझाव दिए ।

उनले लगानीको पारदर्शिता सुनिश्चित गर्दै काम गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाको संख्या घटाउनुपर्ने र राष्ट्रिय गौरवका आयोजना सीमित गर्नुपर्ने धारणा राखे । उनले जग्गा उपयोगसम्बन्धी कानुन सुधार नगरे विकास सम्भव नहुने बताए ।

उनले सरकारी उद्योगबारे स्पष्ट नीति लिन, कर्मचारी कटौतीबारे पुनर्विचार गर्न र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन सुझाव दिए ।

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्ता लक्षित समूहमा मात्रै दिनुपर्ने बताए । उनले अनावश्यक संरचना हटाउन, नेपाल वायुसेवा निगमलाई निजीकरण मोडलमा लैजान तथा सरकारी उद्योग र जमिन लिजमा दिनुपर्ने सुझाव दिए ।

महतले वैदेशिक ऋण घटाउन, ठूला ठेक्कामा मिलेमतो रोक्न तथा कृषि र पर्यटन क्षेत्रमा सुधार गर्नुपर्ने बताए ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले विगतका पूर्वाधार लगानीको प्रतिफल कमजोर रहेको भन्दै पर्यटन पूर्वाधारमा केन्द्रित लगानी गर्नुपर्ने बताए ।

उनले हिलस्टेसन विकास, मध्यमवर्गीय पर्यटक आकर्षण, कृषि उपज बजारसम्म पुर्‍याउने व्यवस्था तथा सार्वजनिक संस्थान सुधारमा जोड दिए ।

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटलाई यथार्थपरक बनाउनुपर्ने बताए । उनले खर्च अनुमानका आधारमा बजेट बनाउने अभ्यास सुधार गर्न र ‘गेम चेन्जर’ परियोजना अघि बढाउन सुझाव दिए ।

उनले खानी तथा प्राकृतिक स्रोत उपयोगमा सरकार सक्रिय हुनुपर्ने धारणा राखे ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटलाई राजनीतिक संकल्प पूरा गर्ने दस्तावेज बनाउनुपर्ने बताए । उनले सरकारी खर्च कटौती गर्न, खानी, धातु तथा औषधि उद्योगमा लगानी बढाउन सुझाव दिए ।

उनले मल कारखाना निर्माण, सीपयुक्त जनशक्ति उत्पादन र निजी क्षेत्रको लगानी सुरक्षालाई मजबुत बनाउनुपर्ने उल्लेख गरे ।

छलफलमा सहभागी पूर्वअर्थमन्त्रीहरूले अर्थमन्त्री वाग्लेलाई राजनीतिक दबाबभन्दा यथार्थपरक नीति, प्रभावकारी कार्यान्वयन र आर्थिक सुधारमा केन्द्रित भएर बजेट ल्याउन सुझाव दिएका थिए ।

प्रतिनिधिसभा बैठक १२ गतेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक जेठ १२ गतेसम्मका लागि स्थगित भएको छ ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले विपक्षी दलहरूको विरोध र नाराबाजीबीच सदनको कारबाही अघि बढाएका थिए ।

बैठकमा विभिन्न विधेयकहरू प्रक्रियाअनुसार अघि बढाइएपछि सभामुख अर्यालले प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते बस्नेगरी स्थगित गरेका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले नाराबाजी नै गरेका हुन् ।

कांग्रेसले पनि उठेर विरोध जनाएको थियो। नेकपा र एमालेले नाराबाजी गर्यो।  श्रम संस्कृति पार्टीले बैठक बहिष्कार गरेको थियो ।

श्रम संस्कृतिले गर्यो सदन बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ ।

आफ्ना मागहरूको सम्बोधन नगरी सभामुख डोलप्रसाद अर्यालले संसद्को कारबाही पेलेरै अघि बढाएको आरोप लगाउँदै पार्टीले बैठक बहिष्कार गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै लगातार विरोध गर्दै आएको श्रम संस्कृति पार्टीले बिहीबारको बैठकमा पनि विरोध जनाएको थियो ।

तर सभामुखले विपक्षी दलहरूको नाराबाजीबीच नै विधेयकहरू अघि बढाएपछि श्रम संस्कृति पार्टीका सांसद बैठकबाट बाहिरिएका हुन् ।

अन्य प्रतिपक्षी दलका सांसदहरूले भने संसद्मा नाराबाजी जारी राखेका छन् ।

विपक्षीको नाराबाजीबीच सभामुखले पेलेर अघि बढाएका तीन विधेयक,कुन-कुन हुन् ?

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूको विरोध र नाराबाजीबीच तीन वटा विधेयक अघि बढाएका छन् ।

प्रतिनिधिसभा बैठकमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

विरोधकै बीच सभामुख अर्यालले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ अघि बढाएका हुन् ।

प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले तीनवटै विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै नाराबाजी जारी राखे पनि सत्तापक्षको समर्थनमा सभामुखले प्रस्तावहरू स्वीकृत भएको घोषणा गरेका थिए ।

स्वीकृत भएका तीनवटै विधेयकमाथि अब संशोधन प्रस्ताव दर्ताका लागि आह्वानसमेत गरिएको छ ।

विपक्षीका नाराबाजीबीचबाट निर्वाचन र मतदाता नामावली संशोधन विधेयक बहुमतले स्वीकृत

काठमाडौं । विपक्षी दलको नाराबाजीबीच प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरिएको छ ।

विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभाको वेल घेरेर नाराबाजी गरिरहेका बेला सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् ।

विधेयकमाथिको छलफलमा कुनै पनि सांसद सहभागी भएनन् । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त विधेयक प्रस्तुत गरेकी थिइन् ।

तर विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर विधेयक प्रस्तुत गर्नुपर्ने अडान राख्दै विरोध जारी राखेका थिए ।

यस्तै, बैठकले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत गरेको छ ।

उक्त प्रस्तावमाथि पनि छलफलका लागि कुनै सांसदले नाम टिपाएका थिएनन् ।

सदन प्रतिपक्षको हुन्छ तर के सभामुख डाेलप्रसाद अर्यालले त्यो मान्यता जोगाए ?

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल प्रतिपक्षीहरूलाई पेलेरै अघि बढेका छन् । ‘सदन प्रतिपक्षीको हुन्छ’ भन्ने स्थापित संसदीय मूल्य मान्यतालाई सभामुख अर्यालले कुल्चिएका छन् ।

रास्वपाबाट सभामुख भएका उनले सदन सञ्चालन गर्दा निष्पक्षता र तटस्थतालाई भुलेको र आफ्नो पूर्ववर्ती दल रास्वपाको सरकारप्रति बफादारिता देखाएका छन् । उनको यस्तो पक्षधरतापूर्ण भूमिकालाई लिएर प्रतिपक्षी दलहरू झनै चिढिएका छन् ।

उनीहरूले सभामुखको यस्तो कदम र प्रधानमन्त्री बालेनको संसदप्रति अवमूल्यन गर्ने कार्यप्रति विरोध गर्दै संसद बैठकभित्रै प्रदर्शन गरिरहेका छन् । यद्यपि, पक्षधरता लिएको आरोप लागेका सभामुख अर्यालले सदन बैठक सञ्चालन गरिरहेका छन् ।

प्रधानमन्त्री बालेनको तर्फबाट कानुनमन्त्री सोविता गौतमले संसद बैठकमा पेस गरेका प्रतिनिधि सभा निर्वाचन (पहिलो संशोधन विधेयक) २०८३ सदनमा निर्णयार्थ प्रस्तुत गरे । जुन, बहुमतले पारित भएको छ ।

यसपछि मन्त्री गौतमले नै प्रस्तुत गरेको मतदाता नामावली (पहिलो संशोधन विधेयक) २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे ।

यतिबेला संसद् बैठक तनावग्रस्त छ । विपक्षीहरूको नाराबाजी नसुनियोस् भनेर साउन्ड म्युट गरिएको छ ।

संसदमा लाग्यो ‘मुर्दावाद’को नारा, पेलेरै अघि बढे सभामुख

काठमाडौं। प्रतिपक्षी दलहरूले उठाएको मागलाई बेवास्ता गर्दै सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभा बैठक पेलेरै अघि बढाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति माग गर्दै विपक्षी सांसदहरूले चर्को विरोध जनाएपछि संसद्मा केहीबेर ‘मुर्दावाद’को नारासमेत लागेको हो।

प्रधानमन्त्री शाहको खोजी गर्दै विपक्षी दलहरूले बैठक अवरुद्ध गरेपछि सभामुखले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । तर, स्थगित भएर पुनः बसेको दोस्रो बैठकमा पनि विपक्षीको विरोध जारी रहेपछि सभामुख अर्यालले विरोधकै बीच कार्यसूची अघि बढाएका हुन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो ।

तर प्रधानमन्त्री शाह बैठकमा उपस्थित भएनन् । त्यसपछि सभामुख अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई उक्त प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।

यसप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै नीति तथा कार्यक्रम प्रस्तुत भएदेखि नै प्रधानमन्त्री संसद्मा अनुपस्थित रहेको स्मरण गराए ।

उनीहरूले प्रधानमन्त्रीसँग प्रत्येक महिना हुनुपर्ने प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने’ व्यवस्था रहेको विपक्षी सांसदहरूले उल्लेख गरेका थिए ।

विपक्षी सांसदहरूले जेठ महिनाको पहिलो हप्ताको अन्तिम दिन बिहीबार नै भएको स्मरण गराउँदै सात दिनसम्म पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नसकेको अवस्थामा प्रधानमन्त्रीको कार्यसूची अर्को मन्त्रीमार्फत प्रस्तुत गराइएको भन्दै विरोध जनाएका हुन् ।

तर सभामुखले सत्तापक्षलाई पनि बोल्न समय दिएका थिए । रास्वपाका सांसद अशोककुमार चौधरीले प्रधानमन्त्रीलाई अर्को मन्त्रीमार्फत कार्यसूची अघि बढाउने अधिकार रहेको बताएका थिए ।

त्यसपछि संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की र सवालजवाफ सुरु भएको थियो ।

पहिलो बैठक स्थगित भएपछि फेरि बसेको दोस्रो बैठकमा पनि विपक्षी ‘मुर्दावाद’को नाराबाजी जारी रहे तापनि सभामुखले बैठक अघि बढाएका छन्।

प्रतिपक्षी आवाजलाई बेवास्ता गर्दै सभामुख अर्याल, संसद् बैठक अवरुद्ध

काठमाडौं । प्रतिनिधि सभा बैठक फेरि अबरुद्ध भएको छ । प्रतिपक्षी दलहरूका सांसदहरू उठेर विरोध गरेका हुन् । उनीहरूले वेलमा आएर नाराबाजी गरेका छन् ।

उनीहरूले सदनमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य गराउन माग गरेका थिए । उनीहरूले प्रधानमन्त्री बालेनलाई संसदप्रति उत्तरदायी बनाउनुपर्ने, प्रतिनिधि सभा नियमावली कार्यान्वयन गर्न भन्दै नाराबाजी गरे ।

यद्यपि, सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी आवाजलाई बेवास्ता गर्दै प्रधानमन्त्री बालेनको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौमतलाई प्रतिनिधि सभा नियमावली (पहिलो संशोधन २०८३) माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिए ।

यसपछि विपक्षीहरू झनै आक्रोशित भएका छन् । उनीहरूले यतिबेला नाराबाजी गरेका छन्, जसले संसद् बैठक अवरुद्ध भएको छ ।

विपक्षीले बालेन खोजेपछि, १५ मिनेटको लागि स्थगित भएको सदन अझै चलेन

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

सभामुख डोलप्रसाद अर्यालका अनुसार आजै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरिएको हो ।

बैठक स्थगित गर्ने बित्तिकै सभामुख अर्याल प्रधानमन्त्री बालेन शाह र सभामुख करिब आधा घण्टा लामो भेटवार्ता भयो।

विपक्षी दलले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै ‘खोजी’ गरेपछि बैठक स्थगित गरेर सभामुख स्वयं प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन्।

भेटवार्तामा संसद्को पछिल्लो गतिविधि, विपक्षी दलले उठाएका प्रश्न र प्रधानमन्त्रीको सदनमा उपस्थितिका विषयमा छलफल भएको बताइएको छ।

बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

तर प्रधानमन्त्री शाह उपस्थित थिएनन् । त्यसपछि सभामुख अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।

विपक्षी दलहरूले नीति तथा कार्यक्रमदेखि नै संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेको स्मरण गराउँदै आफूहरूले प्रधानमन्त्री खोज्दा उपस्थित नभइरहेका बेला सभामुखबाट समेत प्रत्येक महिना संसद्मा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको भन्दै प्रश्न उठाए ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा यस सम्बन्धी व्यवस्था गरिएको छ । उक्त नियममा भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’

विपक्षी सांसदहरूले जेठ महिनाको पहिलो हप्ताको अन्तिम दिन बिहीबार नै भएको स्मरण गराउँदै सात दिनसम्म पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नसकेको अवस्थामा प्रधानमन्त्रीले अगाडि बढाउने कार्यसूची अर्को मन्त्रीमार्फत प्रस्तुत गराएको विषयमा आपत्ति जनाएका हुन् ।

तर सभामुखले सत्तापक्षबाटै विपक्षीको प्रश्नको जवाफ दिन समय दिएका थिए । रास्वपाका सांसद अशोककुमार चौधरीले प्रधानमन्त्रीलाई अर्को मन्त्रीमार्फत कार्यसूची अगाडि बढाउने अधिकार रहेको स्मरण गराए ।

त्यसपछि सभामा सत्तापक्ष र प्रतिपक्षबीच सवालजवाफ सुरु भएको थियो । विवाद बढ्दै गएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

यद्यपि अझै बैठक चल्न सकेको छैन।

 

विपक्षीले बालेन खोजेपछि, हस्याङ्ग-फस्याङ्ग गर्दै सभामुख पुगे भेट्न

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच करिब आधा घण्टा लामो भेटवार्ता भएको छ।

विपक्षी दलले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै ‘खोजी’ गरेपछि बैठक स्थगित गरेर सभामुख स्वयं प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन्।

भेटवार्तामा संसद्को पछिल्लो गतिविधि, विपक्षी दलले उठाएका प्रश्न र प्रधानमन्त्रीको सदनमा उपस्थितिका विषयमा छलफल भएको बताइएको छ।

यसअघि प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउनुपर्ने माग गर्दै निरन्तर प्रश्न उठाउँदै आएका थिए। उनीहरूले प्रधानमन्त्रीलाई बोलाउन सभामुखले औपचारिक रुलिङ गर्नुपर्ने माग पनि गर्दै आएका छन्।

तर हालसम्म प्रधानमन्त्रीको तर्फबाट सदनमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने र विधेयक पेश गर्ने काम भइरहेको छ।