`

पोखराको लिचीबारी प्रकरण : साक्षी प्रमाण बुझ्ने आदेश

काठमाडौं। विशेष अदालतले पोखराको लिचीबारी (दीप बिर्ता) प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित ७ जना प्रतिवादीविरुद्ध दायर भ्रष्टाचार मुद्दामा साक्षी प्रमाण बुझ्ने आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू नारायणप्रसाद कोइराला र उमेश कोइरालाको इजलासले सो आदेश जारी गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा अब प्रमाण परीक्षण र साक्षी बयान चरणमा प्रवेश गरेको छ।

तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा रोक्ने र भूमि आयोगमा सदस्य बनाइदिने आश्वासन दिँदै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ।

त्यसैगरी पूर्व मन्त्री रञ्जिता श्रेष्ठसँग मिलेमतोमा २५ लाख रुपैयाँ घुस लिइएको अर्को आरोप पनि दायर गरिएको छ। समग्रमा ७८ लाख रुपैयाँ बराबरको घुस र रिसवत लेनदेन भएको दाबी गरिएको छ।

आयोगका अनुसार अडियो संवाद, बैंक कारोबार विवरण र डिजिटल फरेन्सिक परीक्षण प्रतिवेदनले लेनदेन भएको संकेत गरेको छ। डिजिटल फरेन्सिक ल्याबको परीक्षणमा प्रस्तुत अडियो-भिडियो सामग्रीमा कुनै छेडछाड नभएको निष्कर्ष पनि आएको उल्लेख छ।

मुद्दामा पूर्वमन्त्रीहरू गुप्ता र श्रेष्ठसहित कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, घरजग्गा व्यवसायी तथा बिचौलिया सुजनकुमार तामाङ (सुजन लामा), खेमबहादुर पुन, यमकुमारी गुरुङ र तुल्सीराम बुढामगर प्रतिवादी रहेका छन्।

प्रकरण पोखरा महानगरपालिका-१६ स्थित दीप बिर्ता (लिची बगैँचा) को नक्सा नम्बर २५, २६ र २८ सम्बन्धी जग्गा व्यवस्थापन र सरुवासँग जोडिएको हो।

रिस किन उठ्छ ?

काठमाडौं। रिस उठ्नु एक स्वाभाविक मानवीय प्रतिक्रिया हो। तर बारम्बार र सानो कुरामा पनि चाँडै रिस उठ्ने अवस्था मानसिक, शारीरिक र सामाजिक कारणसँग जोडिएको समस्या हुन सक्छ। यस्तो व्यवहारले व्यक्तिगत जीवन, स्वास्थ्य र सामाजिक सम्बन्धमा नकारात्मक असर पार्न सक्छ। त्यसैले रिस नियन्त्रणका लागि ध्यान, योग, सकारात्मक सोच र आवश्यक परे विशेषज्ञ परामर्श लिनु उपयोगी मानिन्छ।

रिस सबै मानिसमा हुने एक प्राकृतिक भावना हो। तर जब यो बारम्बार र अनियन्त्रित रूपमा देखिन थाल्छ, तब यसले व्यक्तिको मानसिक, शारीरिक र सामाजिक जीवनमा समस्या सिर्जना गर्न सक्छ। चाँडो रिस उठ्नु केवल स्वभाव नभई विभिन्न आन्तरिक र बाह्य कारणहरूको परिणाम पनि हो।

चाँडो रिस उठ्नुका प्रमुख कारणहरूलाई मनोवैज्ञानिक, शारीरिक र सामाजिक पक्षमा विभाजन गरेर बुझ्न सकिन्छ। मनोवैज्ञानिक रूपमा अत्यधिक तनाव, चिन्ता, उदासी, आत्म-नियन्त्रणको कमी र भावनात्मक अस्थिरताले व्यक्तिलाई चाँडै उत्तेजित बनाउँछ। शारीरिक रूपमा अनिद्रा, हर्मोन असन्तुलन, उच्च रक्तचाप र अत्यधिक थकानले सहनशीलता घटाएर रिस बढाउन सक्छ। त्यस्तै, सामाजिक रूपमा पारिवारिक वा कार्यस्थलको तनाव, नकारात्मक वातावरण तथा बाल्यकालीन मानसिक आघातले पनि व्यवहारमा असर पार्छ।

यदि चाँडो रिस उठ्ने बानीलाई नियन्त्रण नगरे यसको प्रभाव व्यक्तिगत जीवनमा स्पष्ट रूपमा देखिन थाल्छ। सम्बन्धमा दूरी र असमझदारी बढ्ने, आत्मविश्वास कमजोर हुने तथा मानसिक शान्ति घट्ने सम्भावना रहन्छ। स्वास्थ्यका दृष्टिले उच्च रक्तचाप, मुटु सम्बन्धी समस्या, निद्रा बिग्रिने अवस्था र रोग प्रतिरोधात्मक क्षमतामा कमी आउन सक्छ। त्यस्तै, सामाजिक र व्यावसायिक जीवनमा पनि कामको गुणस्तर घट्ने, सम्बन्ध कमजोर हुने र अवसर गुम्ने सम्भावना बढ्छ।

रिस नियन्त्रण गर्ने उपायहरू

रिस नियन्त्रण गर्न मानसिक, शारीरिक र सामाजिक स्तरमा सुधार आवश्यक हुन्छ। ध्यान र योग अभ्यास, गहिरो सास फेर्ने बानी, प्रतिक्रिया दिनुअघि केही समय रोक्ने अभ्यास र सकारात्मक सोच विकास गर्नाले मानसिक नियन्त्रण बढ्छ। नियमित व्यायाम, सन्तुलित आहार र पर्याप्त निद्राले शरीरलाई सन्तुलित राख्छ। साथै, आफ्ना भावना खुला रूपमा व्यक्त गर्ने, समस्यालाई समाधानमुखी दृष्टिले हेर्ने र आवश्यक परे मनोवैज्ञानिक परामर्श लिने बानीले व्यवहार सुधारमा सहयोग गर्छ।

सही जीवनशैली, मानसिक सन्तुलन र सकारात्मक सोच अपनाउन सके रिसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ, जसले व्यक्तिको जीवनलाई स्वस्थ, सन्तुलित र सफल बनाउन मद्दत गर्छ।

तस्वीर: एआई 

छैन प्यान नम्बर : कसरी कारोबार गरिरहेका छन्, यी मन्त्रीहरु ?

काठमाडौं । सरकारी वा निजी क्षेत्रबाट पारिश्रमिक लिने, व्यापार-व्यवसाय गर्ने वा परामर्शजस्ता सेवाबाट आम्दानी गर्ने व्यक्तिका लागि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य मानिन्छ। पाँच हजार रुपैयाँभन्दा माथिको भुक्तानीमा प्यान अनिवार्य हुने व्यवस्था भए पनि सामान्य गुजाराका साना भुक्तानीमा भने यो लागू हुँदैन।

तर, सरकारले आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरणअनुसार शिक्षामन्त्रीसहित पाँच मन्त्रीले प्यान नम्बर उल्लेख नगरेपछि आयस्रोत र कर पारदर्शितामाथि प्रश्न उठेको छ।

प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरूले विवरणमा प्यान नम्बर अनिवार्य रूपमा उल्लेख गरे पनि केही मन्त्रीहरूको विवरणमा यो खण्ड खाली देखिएको छ। तर उनीहरूको सम्पत्ति विवरण हेर्दा विभिन्न आर्थिक कारोबार भने भएको देखिन्छ।

नेपाल सरकारले २०७६ साउन १ गतेदेखि ‘एक व्यक्ति, एक प्यान’ नीति लागू गरेको छ, जसअनुसार पारिश्रमिक लिने कर्मचारी वा कामदारले प्यान लिन अनिवार्य हुन्छ। साथै, करयोग्य आम्दानीमा आयकर तिर्न पनि प्यान आवश्यक हुन्छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको विवरणमा बैंकमा ९० लाख रुपैयाँ बचत देखिए पनि प्यान नम्बर उल्लेख गरिएको छैन। उक्त रकमको स्रोतसमेत स्पष्ट खुलाइएको छैन।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पनि प्यान नम्बर उल्लेख गरेकी छैनन्। उनले २५ तोला सुनको स्रोत ‘स्वआर्जन’ उल्लेख गरेकाले आम्दानी भएको देखिए पनि प्यान नलिएको प्रश्न उठेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको विवरणमा पनि प्यान नम्बर छैन। तर विभिन्न बैंकमा ७ लाख ५० हजार रुपैयाँभन्दा बढी मौज्दातको स्रोत ‘पारिश्रमिक’ उल्लेख गरिएको छ, जसले प्यान अनिवार्य हुने अवस्था देखाउँछ।

शिक्षामन्त्री सस्मित पोखरेलको विवरणमा समेत प्यान नम्बर उल्लेख छैन। उनले एनआइसी बैंकमा रहेको १ लाख ९९ हजार रुपैयाँको स्रोत काठमाडौं महानगरपालिकामा काम गर्दा प्राप्त पारिश्रमिक भनेर जनाएका छन्।

यसैगरी, उद्योगमन्त्री गौरीकुमारी यादव र श्रममन्त्री रामजी यादवको विवरणमा पनि प्यान नम्बर उल्लेख गरिएको छैन।

सम्पत्ति विवरणमा आम्दानी र आर्थिक कारोबार देखिए पनि प्यान नम्बर नहुनुले कर प्रणालीको पालना र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

 

मन्त्रिमण्डलको सम्पतिले चर्कियो बहस : आलोचनाको अचानोमा सरकार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेसँगै राजनीतिक वृत्त र सार्वजनिक बहसमा तीव्रता आएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा घरजग्गा, शेयर, सुनचाँदी, गरगहना, नगददेखि पशुधनसम्मका सम्पत्तिहरू समेटिएका छन्। अधिकांश मन्त्रीहरूको उल्लेखनीय सम्पत्ति र सुनचाँदीले जनमानसमा चासो, प्रश्न र आलोचना एकसाथ जन्माएको छ।

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहसँग उल्लेख्य सम्पत्ति रहेको देखिए पनि त्यसको ठूलो हिस्सा पैतृक रहेको उल्लेख गरिएको छ। उनले १ करोड ४६ लाख रुपैयाँ नगद रहेको जनाउँदै फेसबुक, युट्युब, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालबाट आम्दानी भएको बताएका छन्। मधेस र काठमाडौंमा घरजग्गा रहेको तथा पत्नी सबिना काफ्लेको नाममा १९० तोला सुन रहेको विवरणमा उल्लेख छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो विवरणमा चारवटा घर र अपार्टमेन्ट उल्लेख गरेका छन्। उनको मुख्य आम्दानी स्रोत विदेशको जागिर रहेको देखाइएको छ। बैंकमा १ करोड ९० लाख रुपैयाँ मौज्दात र ४५ तोला सुनका साथै विभिन्न जलविद्युत् आयोजना र एक विकास बैंकमा सेयर लगानी रहेको जनाइएको छ।

गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरणमा धनकुटामा १९ रोपनी १५ आना, चितवनमा पिताको नाममा ३० कठ्ठा र गोरखामा बाजेको नाममा २ सय २१ रोपनी जग्गा उल्लेख छ। सेयर बजारमा ४ करोड ३१ लाख रुपैयाँभन्दा बढी लगानी, ८९ तोला सुन तथा विभिन्न कम्पनीमा लगानी रहेको विवरणमा देखिन्छ।

परराष्ट्रमन्त्री शिशिर खनालका बुबाको नाममा काठमाडौंमा घर र तनहुँ, नवलपुर तथा नेपालगन्जमा २८ रोपनी २ कट्ठा जग्गा रहेको छ। साथै १३ लाख नगद र २२ तोला सुन तथा विभिन्न कम्पनीमा सेयर रहेको उल्लेख छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले १५ तोला सुन, ५० तोला चाँदी, विभिन्न बैंकमा करिब ६४ लाख रुपैयाँ नगद, घर, गाडी तथा सेयर लगानी उल्लेख गरेका छन्।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग काठमाडौं र चितवनमा घर, १० लाख ५० हजार रुपैयाँ बैंक मौज्दात, १५ तोला सुन, एक तोला हिरा र नौ तोला चाँदी रहेको विवरणमा छ। उनले विभिन्न बैंकबाट ऋण लिएको पनि उल्लेख गरेकी छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको सम्पत्ति विवरण अपेक्षाकृत सानो देखिएको छ। उनको नाममा ५० हजार नगद, बैंकमा करिब १५ लाख रुपैयाँ, १८ तोला सुन, १५ तोला चाँदी, २० कुखुरा र एउटा कुकुर रहेको उल्लेख छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालसँग ९० लाख रुपैयाँ बैंक मौज्दात, ३० तोला सुन, ५० तोला चाँदी तथा विभिन्न जिल्लामा घरजग्गा रहेको उल्लेख छ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले काठमाडौं र बारामा जग्गा, २५ तोला सुन, २४ लाख रुपैयाँ बचत, २० लाख ऋण र ४४ लाख बराबरको गाडी रहेको विवरण सार्वजनिक गरेकी छन्।

कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग पाँच तोला सुन, १०० तोला चाँदी, करिब १ लाख २६ हजार रुपैयाँ बचत तथा दुई बाख्रा र १० कुखुरा रहेको उल्लेख छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग काठमाडौं र महोत्तरीमा जग्गा, १८० तोला सुन, दुई किलो चाँदी, हिराका गहना तथा ३ करोड ३८ लाख रुपैयाँ बराबरको लगानी रहेको विवरणमा छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले घरजग्गा, ३० तोला सुन, ५० तोला चाँदी, बैंक बचत, सेयर र गाडी रहेको जनाएकी छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पोखरामा घर, पैतृक जग्गा, ११ तोला सुन, पाँच तोला चाँदी तथा बैंक र सहकारीमा नगद र ऋण रहेको उल्लेख गरेका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले काठमाडौंमा घर, १० लाख ३४ हजार रुपैयाँ बचत तथा सुनचाँदी रहेको विवरण सार्वजनिक गरेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवसँग सप्तरीमा पैतृक घरजग्गा, ८० तोला सुन, १५० तोला चाँदी तथा बैंक बचत रहेको उल्लेख छ।

सम्पत्ति विवरण सार्वजनिक भएसँगै चौतर्फी प्रतिक्रिया आएको छ। एमाले नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गर्दै ‘देश लंका बनिसकेको’ भन्दै कटाक्ष गरेका छन्। उनले मन्त्रीहरूको सुनलाई ‘डाँडाभरि लालीगुराँस फुलेजस्तै खेतबारीमा पहेँलपुर तोरी फुलेको’ टिप्पणी गरेका छन्।

यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गरेका छन्। उनले स्रोत नखुलेको सम्पत्तिलाई भ्रष्टाचारसँग जोडेर हेर्न सकिने उल्लेख गर्दै पारदर्शिता आवश्यक भएको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पनि मन्त्रीहरूको सम्पत्तिमा पारदर्शिता अभाव देखिएको टिप्पणी गरेका छन्। उनले औसत नेपालीको आयभन्दा धेरै माथि सम्पत्ति देखिएको र कतिपय अवस्थामा हदबन्दीभन्दा बढी जग्गासमेत देखिएको भन्दै आय र कर विवरणसमेत सार्वजनिक गर्न माग गरेका छन्।

यसैबीच, गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्तिबारे स्पष्टीकरण दिएका छन् । उनले लेखेका छन्, ‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो।’  भनेका छन्।  उनले सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप नभएको बताउँदै सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप भएको जिकिर गरेका छन्।

नयाँ सरकार गठन भएको १७ दिनमै सम्पत्ति विवरण सार्वजनिक हुनु पारदर्शिता र उत्तरदायित्वतर्फ सकारात्मक कदम मानिए पनि, सार्वजनिक विवरणमा देखिएको ठूलो परिमाणको सम्पत्तिले सरकारलाई प्रश्नको घेरामा ल्याएको छ। स्रोत, वैधता र करसम्बन्धी स्पष्टता दिन नसके पारदर्शी छवि कायम गर्न चुनौती हुने देखिएको छ।

एलन मस्कको ‘एक्सच्याट’ले ‘ह्वाट्सएप’लाई देला चुनौती ?

काठमाडौं। टेक उद्यमी एलन मस्कले विकास गरिरहेको नयाँ मेसेजिङ एप ‘एक्सच्याट’ आउँदो बिहीबारदेखि आईओएस प्रयोगकर्ताका लागि पूर्ण रूपमा उपलब्ध हुने भएको छ। फोन नम्बर बिना चल्ने र विज्ञापनरहित हुने दाबी गरिएको यो एपलाई मस्कले ‘सुपर एप’ बनाउने दीर्घकालीन योजनाको महत्वपूर्ण हिस्सा भनेका छन्।

‘एक्सच्याट’ प्रयोग गर्न कुनै फोन नम्बर आवश्यक नपर्ने बताइएको छ, जसले प्रयोगकर्ताको गोपनीयतामा केन्द्रित नयाँ विकल्प दिने अपेक्षा गरिएको छ। मस्कले यसलाई ‘एन्ड-टु-एन्ड इन्क्रिप्टेड’ प्रणाली भएको दाबी गरेका छन्।

नयाँ एपमा भ्वाइस नोट, ग्रुप च्याट (४८१ जनासम्म), अडियो-भिडियो कल, फाइल सेयरिङ, मेसेज एडिट तथा डिलिट गर्ने सुविधा रहेको बताइएको छ। साथै ५ मिनेटपछि स्वतः हराउने (डिसअपीयरिङ) मेसेज सुविधा पनि रहनेछ।

एपभित्रै ग्रोक एआई पनि एकीकृत गरिएको छ, जसले च्याटभित्रै विभिन्न काम गर्न सहयोग गर्ने दाबी गरिएको छ। एप ‘रस्ट’ प्रोग्रामिङ भाषामा निर्माण गरिएको बताइएको छ।

मस्कले यसलाई ‘बिटकोइन-शैलीको इन्क्रिप्सन’ भएको भने पनि सुरक्षा विशेषज्ञहरूले यसको व्याख्यामा प्रश्न उठाएका छन्। उनीहरूका अनुसार बिटकोइन र मेसेजिङ एपको सुरक्षा प्रणाली फरक हुने भएकाले उक्त दाबी प्राविधिक रूपमा विवादास्पद देखिन्छ।

त्यस्तै, एप्पलको एप स्टोर प्राइभेसी विवरणअनुसार एपले लोकेसन, सम्पर्क, सर्च हिस्ट्री जस्ता डेटा संकलन गर्न सक्ने संकेत पनि गरिएको छ।

यो एपको मुख्य प्रतिस्पर्धीका रूपमा ह्वाट्सएप र सिग्नल जस्ता लोकप्रिय मेसेजिङ प्लेटफर्महरूलाई हेरिएको छ। विज्ञहरूका अनुसार ‘एक्सच्याट’ ले बजारमा प्रवेश गरे पनि प्रयोगकर्ता विश्वास र सुरक्षा परीक्षणको विषय अझै चुनौतीपूर्ण रहनेछ।

फोन नम्बर बिना चल्ने, एआई एकीकृत र सुपर एपको अवधारणासहित आएको ‘एक्सच्याट’ले मेसेजिङ बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने संकेत दिएको छ।

इरानमा १६ सय बढीलाई फाँसी

एजेन्सी। सन् २०२५ मा इरानमा मृत्युदण्डको प्रयोग अत्यन्त तीव्र रूपमा बढेको देखिएको छ। दुई अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका अनुसार सो वर्ष कम्तीमा १,६३९ जनालाई मृत्युदण्ड दिइएको छ, जुन सन् १९८९ पछिकै उच्च तथ्याङ्क हो।

नर्वेमा आधारित इरान मानव अधिकार संस्था र पेरिसस्थित टुगेदर एगेन्स्ट द डेथ पेनाल्टीले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो संख्या सन् २०२४ को तुलनामा ६८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष ९७५ जनालाई मृत्युदण्ड दिइएको थियो।

प्रतिवेदनअनुसार मृत्युदण्ड दिइएकामध्ये ४८ जना महिला रहेका छन्, जुन पछिल्ला दुई दशकयताकै उच्च संख्या हो। औसतमा दैनिक चारभन्दा बढी व्यक्तिलाई फाँसी दिइएको देखिन्छ।

विश्लेषकहरूले यस वृद्धिलाई केवल आपराधिक कारबाही मात्र नभई राजनीतिक नियन्त्रणको माध्यमका रूपमा समेत व्याख्या गरेका छन्। इरान मानव अधिकार संस्थाका निर्देशक महमुद अमीरी–मोघद्दमले मृत्युदण्डलाई “डरको वातावरण सिर्जना गर्ने औजार” का रूपमा प्रयोग गरिएको टिप्पणी गरेका छन्।

प्रतिवेदनमा जातीय तथा धार्मिक अल्पसङ्ख्यक समुदाय, विशेषगरी कुर्द र बलुच समुदाय बढी प्रभावित भएको उल्लेख छ। मृत्युदण्ड पाएकामध्ये करिब आधा लागुऔषध सम्बन्धी मुद्दामा दोषी ठहरिएका थिए।

सार्वजनिक फाँसीका घटना पनि बढेर ११ पुगेका छन्, जुन अघिल्लो वर्षभन्दा तीन गुणा बढी हो। अधिकारकर्मीहरूले यो अवस्थालाई मानवअधिकार संकटको गम्भीर संकेतका रूपमा व्याख्या गरेका छन्।

प्रधानमन्त्री कपमा आसिफ शेखको कीर्तिमानी दोहोरो शतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत एपीएफ क्लबका ओपनर आसिफ शेखले दुर्लभ कीर्तिमान कायम गरेका छन्।

नारायणी क्रिकेट मैदान, वीरगञ्जमा मधेश प्रदेशविरुद्ध जारी खेलमा उनले ऐतिहासिक दोहोरो शतक प्रहार गर्दै प्रतियोगिताको इतिहासमै नयाँ रेकर्ड बनाएका हुन्। यसअघि प्रतियोगितामा कुनै पनि खेलाडीले दोहोरो शतक बनाएका थिएनन्।

१४२ बलको सामना गरेका शेख २०८ रन बनाएर रिटायर्ड हर्ट भए। आफ्नो उत्कृष्ट इनिङ्समा उनले १५ चौका र १७ छक्का प्रहार गरेका थिए।

उनकै दोहोरो शतकको मद्दतमा एपीएफले मधेश प्रदेशलाई ३९१ रनको विशाल लक्ष्य दिएको छ, जुन प्रतियोगिताकै उच्च योगफलसमेत हो।

यसअघि यही संस्करणमा नेपाल पुलिस क्लबले एपीएफविरुद्ध ३५५ रन बनाएको कीर्तिमान थियो, जसलाई एपीएफले तोड्दै नयाँ इतिहास रचेको हो।

प्रहरीको हत्या, चार जना पक्राउ

वीरगन्ज । वीरगन्जमा आइतबार साँझ एक जना प्रहरी जवानको हत्या भएको छ। मृतक जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान विकास चौरसिया हुन्।

प्रहरीका अनुसार उनी बिदामा घर आएका बेला घटनामा परेका हुन्। चौरसिया कालिकामाई गाउँपालिका-१ का स्थायी बासिन्दा हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदीपराज पाठकका अनुसार मुर्लीस्थित फिरोज मियाको घरमा उनलाई गम्भीर घाइते अवस्थामा फेला पारिएको थियो। उनको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ।

गम्भीर अवस्थामा उनलाई तत्कालै नारायणी अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्तोष साह, सोनी साह, विशाल साह र कन्हैया कुमार रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।

वैशाखमा कुन बैंकले कति ब्याजदर घटाए ?

काठमाडौं। बैङ्कहरूले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।

बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार वाणिज्य बैंक प्रणाली अन्तर्गत २०८३ वैशाखमा औसत व्यक्तिगत मुद्दती निक्षेपमा ४.४१ प्रतिशत र संस्थागततर्फ ३.२३ प्रतिशत ब्याज दिने भएका हुन्।

चैत्र महिनामा व्यक्तिगततर्फ औसत ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत ब्याजदर रहेको थियो। यसअनुसार वैशाखमा समग्र ब्याजदरमा सामान्य गिरावट देखिएको छ।

वैशाखका लागि ७ बैंकले ब्याजदर घटाएका छन् भने १२ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन्। कृषि विकास बैंकले भने ब्याजदर बढाएको छ।

घटाउने बैंकमध्ये एभरेष्ट बैंकले व्यक्तिगततर्फ ४.०५ प्रतिशत, कुमारी बैंकले ४.०५ प्रतिशत, सिटिजन्स बैंकले ४.१२ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४.१० प्रतिशत, हिमालयन बैंकले ४.५० प्रतिशत, सिद्धार्थ बैंकले ४ प्रतिशत र एनआईसी एशिया बैंकले ४.७५ प्रतिशत ब्याजदर दिने भएका छन्।

त्यस्तै नेपाल बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक लगायतले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन्। एनएमबी बैंकले ५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत ब्याजदर दिने भएका छन्।

सकियो ओलीको शल्यक्रिया

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरी निकाल्ने शल्यक्रिया सम्पन्न भएको छ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका निर्देशक डा. सुवास आचार्यका अनुसार ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। उनलाई अपरेसन थिएटर (ओटी)बाट वार्डमा सार्ने तयारी भइरहेको छ। विस्तृत स्वास्थ्य अवस्थाबारे केहीबेरमै प्रेस नोटमार्फत जानकारी दिइने अस्पतालले जनाएको छ।

यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट ‘जेनजी आन्दोलन’ दमन गरेको आरोपमा ओली पक्राउ परेका थिए। पक्राउ परेकै दिनदेखि उनी उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।

ओली पक्राउ परेपछि उनकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतको आरोप लगाउँदै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।

सर्वोच्च अदालतले चैत २३ गते ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्धको अनुसन्धान चैत २६ भित्र टुंग्याउन आदेश दिएको थियो। साथै, तोकिएको समयभित्र अनुसन्धान नसकिए शर्तसहित रिहा गर्न निर्देशन दिएको थियो।

सोही आदेशअनुसार प्रहरीले ओलीलाई अस्पतालबाट पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो। थुनामुक्त भए पनि शल्यक्रिया गर्नुपर्ने भएकाले उनी अस्पतालमै बस्दै आएका थिए।

यसअघि पनि ओलीको दुइचोटी किड्नी ट्रान्सप्लान्टका लागि दुइचोटी शल्यक्रिया गरिएको थियो

आयो गृहमन्त्री गुरुङको स्टाटस : यस्तो भने सम्पतिबारे ?

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रश्न उठेपछि गृहमन्त्री सुधन गुरुङले त्यसको जवाफ दिएका छन्।  उनले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्तिबारे स्पष्टीकरण दिएका हुन् ।

उनले लेखेका छन्, ‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो।” साथै उनले थप लेखेका छन्, “सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो।’

सार्वजनिक विवरणअनुसार मन्त्री गुरुङसँग धनकुटा, चितवन र गोरखामा गरी ठूलो परिमाणमा जग्गा रहेको देखिएको छ। धनकुटामा १९ रोपनी, चितवनमा ३० कट्ठा र गोरखामा २२१ रोपनी जग्गा रहेको उल्लेख छ।

त्यसैगरी बैंक खातामा करिब ६० लाख रुपैयाँ, विभिन्न कम्पनीमा करिब साढे ४ करोड रुपैयाँ बराबरको सेयर लगानी र एक कार रहेको विवरणमा उल्लेख छ। चल सम्पत्तिमा ८९ तोला सुन र ६ किलो चाँदी पनि रहेको बताइएको छ।

मन्त्री गुरुङले आफ्नो अधिकांश सम्पत्ति पैतृक रूपमा प्राप्त भएको समेत दाबी गरेका छन्।

 

नयाँ वर्षमा ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुँदै

काठमाडौं। नेपाली नयाँ वर्ष २०८३ को अवसरमा राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा ‘ठमेल सडक महोत्सव’ आयोजना हुने भएको छ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका-२६ त्रिदेवीमार्ग क्षेत्रमा सोमबार दिउँसो महोत्सव सञ्चालन गरिनेछ। नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको परिषद्ले जनाएको छ।

परिषद्का उपाध्यक्ष सहदेव धमला (विमल)का अनुसार महोत्सवमा सडकभर विभिन्न स्टल राखेर खानाका परिकार र सामग्रीहरूको प्रदर्शनी गरिनुका साथै मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।

उनका अनुसार त्रिदेवीमार्ग क्षेत्रमा ३२ वटा स्टल राखी खाना प्रवर्द्धन तथा सामग्री बिक्री गरिनेछ। साँझ ६ बजेदेखि सुरु हुने सांस्कृतिक कार्यक्रममार्फत नयाँ वर्षलाई स्वागत गरिनेछ भने कार्यक्रम राति १२:३० बजे समापन हुने जनाइएको छ।

नेपाल आउने विदेशी पर्यटकमध्ये करिब ८० प्रतिशतले ठमेल क्षेत्र भ्रमण गर्ने भएकाले महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

जुवा खेलिरहेका ७ जना पक्राउ

कञ्चनपुर । भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिकै रहेको एक चिया पसलबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्।

आइतबार बेलुकी पदमराज पन्तले सञ्चालन गरेको उक्त पसलमा जुवा भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले छापा मारेको थियो।

प्रहरीका अनुसार पसल सञ्चालक पदमराज पन्तसहित ७ जनालाई नगद ३६ हजार ४४२ रुपैयाँ र एक गड्डी ताससहित नियन्त्रणमा लिइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तीन जना मृत अवस्थामा फेला

काठमाडौं । देशका विभिन्न जिल्लामा छुट्टाछुट्टै घटनामा तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। क्रमश: जुम्ला, म्याग्दी र कैलालीमा उनीहरूको शव भेटिएको हो।

जुम्लाको चन्दननाथ नगरपालिका-२ कालिखोलीस्थित सडकको नालीमा सोमबार एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतक सोही नगरपालिका-३ डाँडाकोटका ४२ वर्षीय मनबहादुर सार्की रहेको नेपाल प्रहरीले जनाएको छ।

त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ राम्चेस्थित निधाल्नी खोलामा आइतबार अन्दाजी ५० वर्षीय एक पुरुष मृत फेला परेका छन्। उनको नाम, थर र ठेगाना हालसम्म खुल्ननसकेको प्रहरीले जनाएको छ।

यता, कैलालीको जानकी गाउँपालिका-९ कतासेस्थित रानीजमरा–कुलरिया सिँचाइ नहरमा सोमबार अन्दाजी ३५ वर्षीय अर्का एक पुरुष मृत अवस्थामा फेला परेका छन्। उनको पहिचान पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

ती सबै घटनाका सम्बन्धमाआवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

केपी शर्मा ओलीको आज पित्तथैलीको शल्यक्रिया हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ।

उपचारमा संलग्न चिकित्सकहरूले यसअघि नै आजका लागि शल्यक्रियाको मिति तय गरेका थिए। सोहीअनुसार पूर्वतयारी पूरा गरेर उनलाई अपरेसन थिएटरमा लगिएको अस्पताल स्रोतले जनाएको छ।

डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरी पित्तथैलीमा रहेको २२ एमएमको पत्थरी निकाल्ने तयारी गरेको छ।

यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै ‘जेनजी आन्दोलन’ दमन गरेको आरोपमा ओली पक्राउ परेका थिए। पक्राउ परेकै दिनदेखि उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।

ओली पक्राउ परेपछि उनकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।

सर्वोच्च अदालतले चैत २३ गते बेलुका ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्धको अनुसन्धान चैत २६ भित्र टुंग्याउन आदेश दिएको थियो। साथै, तोकिएको समयभित्र अनुसन्धान नसकिए शर्तसहित रिहा गर्न पनि निर्देशन दिएको थियो।

सोही आदेशअनुसार प्रहरीले ओलीलाई अस्पतालबाट पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो। थुनामुक्त भए पनि शल्यक्रिया गर्नुपर्ने भएकाले उनी अस्पतालमै बस्दै आएका थिए।

गृहमन्त्रीको जग्गा हदबन्दीभन्दा बढी, के तानिएलान् अनुसन्धानमा ?

काठमाडौं । सरकारले हालै मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेसँगै गृहमन्त्री सुधन गुरुङको सम्पत्तिबारे प्रश्न उठ्न थालेका छन्। आइतबार सार्वजनिक विवरणअनुसार गुरुङको सम्पत्ति परिमाण अस्वाभाविक देखिएको टिप्पणी गरिएको छ।

सार्वजनिक विवरणमा उनको नाममा ४ करोड ३१ लाख ५६ हजार २०० रुपैयाँ बराबरको शेयर, २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ धितोपत्रमा लगानी, धनकुटामा १९ रोपनी जग्गा, चितवनमा ३० कठ्ठा जग्गा, गोरखामा बाजेको नाममा २ सय २१ रोपनी जग्गा, ६१ लाख ६० हजार रुपैयाँ बैंक मौज्दात तथा ९५ तोला सुनचाँदी रहेको उल्लेख गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक वर्ष २०८२/८३ का लागि पेश गरिएको विवरणअनुसार गुरुङ र उनको परिवारको नाममा रहेको जग्गा ‘भूमि सम्बन्धी ऐन, २०२१’ ले तोकेको अधिकतम हदबन्दीभन्दा धेरै बढी देखिएको छ।

उक्त विवरणको अचल सम्पत्ति खण्डअनुसार गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका-३ मा बाजे रामसल गुरुङ तथा अन्यको नाममा पुर्ख्यौली सम्पत्तिका रूपमा २ सय २१ रोपनी जग्गा रहेको जनाइएको छ। यो जग्गा बाजेको नाममा रहेकाले सगोलको रूपमा देखिए पनि वास्तविक रूपमा गुरुङको अंशमा कति पर्छ भन्ने स्पष्ट छैन। साथै, बुबाको नाममा रहेको सम्पत्ति र अंशियारको विवरण पनि खुलाइएको छैन।

कानुनी व्यवस्था अनुसार, काठमाडौं उपत्यकाबाहेकका पहाडी क्षेत्रमा एक परिवारले कृषि प्रयोजनका लागि अधिकतम ७० रोपनी र घरबारीका लागि थप ५ रोपनी गरी कुल ७५ रोपनीसम्म मात्रै जग्गा राख्न पाउने प्रावधान छ। पति, पत्नी, छोरा र अविवाहित छोरीलाई एउटै परिवार मानी यो सीमा लागू हुन्छ।

तर, सार्वजनिक विवरणअनुसार गोरखामा मात्र २ सय २१ रोपनी र धनकुटामा करिब २० रोपनी गरी पहाडी क्षेत्रमा करिब २४१ रोपनी जग्गा देखिएको छ, जुन कानुनले तोकेको सीमाभन्दा तीन गुणाभन्दा बढी हो। यसबाहेक चितवनमा पनि करिब डेढ बिघा जग्गा रहेको उल्लेख छ।

जग्गाधनीले आफ्नो नाम वा परिवारको नाममा रहेको सम्पत्तिको विवरण सम्बन्धित भूमि सुधार कार्यालयमा अनिवार्य रूपमा घोषणा गर्नुपर्ने व्यवस्था छ। समयमै विवरण पेश गरेमा, हदबन्दीभन्दा बढी जग्गामध्ये कुन राख्ने र कुन छोड्ने भन्ने छनोटको अधिकार जग्गाधनीलाई दिइन्छ।

यदि कानुनअनुसार विवरण बुझाएर सरकारले जग्गा अधिग्रहण गरेमा तोकिएको मुआब्जा पाइने व्यवस्था छ। तर, विवरण लुकाएको प्रमाणित भएमा भने कुनै मुआब्जा नपाइने कानुनी प्रावधान रहेको छ।

मन्त्रिपरिषद् सदस्यको सम्पत्तिको स्रोत सार्वजनिक गर्न हर्क सम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क सम्पाङले सरकारले सार्वजनिक गरेको मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्तिको स्रोतसमेत खुलाउन माग गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सम्पत्तिको विवरण मात्र नभई त्यसको स्रोत पनि स्पष्ट हुनुपर्ने बताएका हुन्।

सम्पाङले स्रोत नखुलेको सम्पत्तिलाई भ्रष्टाचारसँग जोडेर हेर्न सकिने उल्लेख गर्दै पारदर्शिताका लागि सरकारका सबै सदस्यले आफ्नो आयको स्रोत प्रष्ट पार्नुपर्ने बताए।

‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो, अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो हुन्छ,’ उनले लेखेका छन्, ‘स्रोत बिनाको सम्पत्ति फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ, त्यसैले स्रोत प्रष्ट्याउनुपर्छ।’

उनको यो भनाइले सार्वजनिक पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने मात्र होइन, त्यसको विश्वसनीयता र पारदर्शितामाथि पनि बहस बढ्ने संकेत गरेको छ।

साम्पाङकाे फेसबुक स्टाटस:

सुनको प्रतिष्पर्धा : को सँग कति ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरू ठूलो परिमाणमा सुन–चाँदीका मालिक देखिएका छन्। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री बालेन्द्र शाह ले आफ्नो पत्नी सविना काफ्लेको पैतृक सम्पत्तिका रूपमा १८० तोला सुन–चाँदी देखाएका छन्। समग्रमा हेर्दा मन्त्रीहरूको साथमा जम्मा ७८७ तोला सुन रहेको विवरण सार्वजनिक भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीसँग १८० तोला सुन रहेको छ, जुन उनले रुसमा व्यापार गर्ने क्रममा आर्जन गरेको बताएकी छन्। गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवसँग ८० तोला, र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन रहेको विवरणमा उल्लेख छ।

त्यस्तै परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल र स्वास्थ्य तथा जनसँख्या मन्त्री निशा मेहेतासँग ३०–३० तोला सुन रहेको पाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग २५–२५ तोला सुन रहेको छ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सीता बादीसँग १८ तोला, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग १५–१५ तोला सुन रहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग ११ तोला, सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनासँग करिब ७ तोला, र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग ५ तोला सुन मौज्दात रहेको खुलेको छ।

कससँग कति सुन ?

  • बालेन शाह – १९० तोला
  • गौरी कुमारी – १८० तोला
  • सुधन गुरुङ – ८९ तोला
  • रामजी यादव – ८० तोला
  • स्वर्णिम वाग्ले – ४५ तोला
  • सुनिल लम्साल – ३० तोला
  • निशा मेहेता – ३० तोला
  • प्रतिभा रावल – २५ तोला
  • सस्मित पोखरेल – २५ तोला
  • शिशिर खनाल – २२ तोला
  • सीता बादी – १८ तोला
  • विराजभक्त श्रेष्ठ – १५ तोला
  • सोविता गौतम – १५ तोला
  • खडकराज पौडेल – ११ तोला
  • विक्रम तिमिल्सिना – करिब ७ तोला
  • गीता चौधरी – ५ तोला

गृहमन्त्री सुधन गुरुङको सम्पत्ति ४ करोड ३१ लाख पैंसा ८९ तोला सुनचाँदी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। 

आइतबार साँझ सार्वजनिक गरिएको विवरण अनुसार गुरुङको नाममा कुल ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको शेयर रहेको छ, जसमा २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ धितोपत्र बजारमा कारोबार हुने शेयरमा लगानी गरिएको उल्लेख छ। व्यक्तिगत सम्पत्तिअन्तर्गत उनको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ।

त्यसैगरी पारिवारिक सम्पत्तिमा उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा तथा बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्री क्षेत्रमा २२१ रोपनी जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ। बैंक मौज्दाततर्फ लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार रुपैयाँ र नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ रहेको छ। 

साथै, उनको नाममा ८९ तोला सुन र करिब ६ किलो चाँदी रहेको पनि विवरणमा जनाइएको छ।

प्रधानमन्त्रीको सम्पत्ति विवरण : १९० तोला सुन, १ करोड ४६ लाख बैंक ब्यालेन्स

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। 

आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको विवरण अनुसार उनको नाममा करिब १ करोड ४६ लाख रुपैयाँ बैंक बैलेन्स रहेको छ। त्यसैगरी, उनकी पत्नी सविना काफ्लेको नाममा पैत्रिक रूपमा करिब १९० तोला सुन, चाँदी, हिरा लगायतका गरगहना रहेका छन्। 

पारिवारिक सम्पत्तिअन्तर्गत उनका बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको छ भने आमा ध्रुवादेवी शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १.२ विघा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ। 

बालेनले सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता र जवाफदेहिताको प्रतिबद्धताको रूपमा लिइएको छ।

राप्रपामा असन्तुष्टि चुलियो, अध्यक्ष लिङ्देनको राजीनामा माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र असन्तुष्टि चुलिएको छ। असन्तुष्ट पक्षको बैठकले आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनको तत्काल राजीनामा माग गरेको छ।

विज्ञप्तिमा हालै सम्पन्‍न संसदीय निर्वाचनमा पार्टीले ‘अकल्पनीय तर नकारात्मक’ नतिजा भोगेको उल्लेख गर्दै त्यसको नैतिक जिम्मेवारी नेतृत्वले राजीनामा दिनुपर्ने भनिएकाे छ । निर्वाचनमा कमजोर प्रदर्शन भएको डेढ महिना बित्न लाग्दा पनि कुनै समुचित समीक्षा, लेखाजोखा वा जिम्मेवारी वहन नगरेको भन्दै असन्तुष्ट पक्षले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेको हो।

बैठकमा महामन्त्रीद्वय डा. धवलशम्शेर जबरा र प्रल्हाद शाह, बागमती प्रदेश प्रमुख विक्रम थापा, कार्यसम्पादन समिति सदस्यहरु अर्जुन राई, नारायण काेइराला, कर्णबहादुर शाहीलगायत थिए ।

बैठकले देशभरका नेता-कार्यकर्ता अन्योलमा परेको र पार्टीभित्र निराशा बढ्दो रहेको निष्कर्ष निकालेकाे छ । नेता तथा कार्यकर्ताहरूले पार्टी जिम्मेवारी र सदस्यता त्याग्ने क्रम बढिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

उपसभामुख निर्वाचनमा उम्मेदवारी दिएको विषयलाई समेत असन्तुष्ट पक्षले विवादास्पद भन्दै आलोचना गरेको छ। उक्त निर्णय पार्टीका आधिकारिक निकायमा पर्याप्त छलफल नगरी गरिएको भन्दै विधि, प्रक्रिया र प्रजातान्त्रिक अनुशासन उल्लंघन भएको असन्तुष्ट पक्षकाे आरोप छ ।

असन्तुष्ट पक्षले पार्टी अहिले ‘सच्चिने कि सकिने’ मोडमा पुगेको निष्कर्ष निकाल्दै ताजा जनादेशका लागि केन्द्रीय महाधिवेशनकाे माग गरेकाे छ ।

पार्टीको वर्तमान कार्यसमितिकाे नियमित कार्यकाल सकिएको र अतिरिक्त अवधिमा रहेको सन्दर्भमा आगामी जेठभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय कार्यान्वयन गर्न पनि दबाब दिएको छ।

विज्ञप्तिमार्फत असन्तुष्ट पक्षले चार बुँदे माग अघि सारेको छ। जसमा अध्यक्ष लिङ्देनको राजीनामा, निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन, एक हप्ताभित्र महाधिवेशनको मिति घोषणा र पार्टीभित्र भएका गतिविधिको छानबिनका लागि समिति गठन गर्नुपर्ने उल्लेख छ।

असन्तुष्ट पक्षले पार्टीलाई पुनर्जीवन दिन नयाँ नेतृत्व आवश्यक रहेको भन्दै समयमै गम्भीर निर्णय लिन नेतृत्वलाई आग्रह गरेको छ।

सरकारलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्ने लेखा समितिकाे सभापतिमा काङ्‍ग्रेकाे दाबी रहन्छ : आङ्देम्बे

काठमाडाै‌ । नेपाली काङ्‍ग्रेसले सार्वजनिक लेखा समितिकाे सभापति दाबी गरेकाे छ ।

प्रमुख विपक्षीले याे समितिकाे सभापति पाउने प्रचलनअनुसार काङ्‍ग्रेसले दाबी गरेकाे हाे ।

‘सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दलकाे हुन्छ र त्यसमा काङ्‍ग्रेकाे सशक्त दाबी हुन्छ र परम्परा पनि प्रमुख विपक्षी दलले पाउने छ’, प्रतिनिधिसभा सदस्य भीष्मराज आङ्देम्बेले बताए ।

राज्यकोषको खर्च संसद्ले चाहेबमोजिम होस् भनी त्यसको सुनिश्चितता गर्नु र सरकारी कोषको प्रभावकारी र मितव्ययितापूर्वक खर्च भए/नभएको जाँच पड्ताल गर्नु सार्वजनिक लेखा समितिको प्रमुख कार्य हो ।

त्यसैले याे सर्वाधिक महत्वपूर्ण समिति मानिन्छ । काङ्‍ग्रेस शीर्ष नेतासमेत रहेका आङ्देम्बेले सरकारलाई नियन्त्रण र सन्तुलनमा राख्न भए पनि पाउनैपर्ने बताए । ‘प्रमुख विपक्षीले नै सार्वजनिक लेखा समितिमा बसेर सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने हाे,’ आङ्देम्बेले भने ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लेखा समिति सभापति काङ्‍ग्रेसबाटै बनाउन सकारात्मक छ । यसबारे दुई दलबीच लगातार सम्वाद भइरहेकाे पनि आङ्देम्बेले बताए । उनका अनुसार अन्य दुईवटा विषयगत समितिकाे नेतृत्व पनि काङ्‍ग्रेसले पाउनुपर्छ ।

तर, लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीले पनि दाबी गरेकाे छ । परम्परालाई आधार मान्‍ने हाे भने प्रमुख विपक्षी दलले नै याे समितिकाे नेतृत्व पाउने गर्छ ।

 

बालेनकाे विरोधमा उत्रिए-भिक्टर पाैडेल र हिमेश पन्त

काठमाडौं । प्रधानमन्त्री बालेन शाह (बालेन)काे आलाेचनामा उनकै निकट मानिने भिक्टर पाैडेल उत्रिएका छन् ।

रुटिन नेपाल अफ बन्दका सञ्‍चालक उनले बालेनलाई गाली गरेकै आधारमा युट्युबर राेशन पाेखरेल पक्राउ पर्नुलाई गलत मानेका छन् ।

उनले बालेनलाई लक्षित गर्दै भनेका छन्- ‘जिम्मेवार पदमा बसेकालाई जनताले जे पनि भन्न पाउनुपर्छ। सभ्य मानिसले आफ्नो कुरा सभ्य तरिकाले राख्छन्, असभ्यले असभ्य तरिकाले… यही नै हाम्रो समाजको वास्तविकता हो !’

पाेखरेल पाँचथरकाे फाल्गुनन्द गाउँपालिका वडा नम्बर-७ का हुन् । उनले बालेनलाई एक भिडियाेमा गालीगलाैज गर्दै याैनजन्य हि‌सासम्बन्धी अभिव्यक्ति दिएका थिए । साेही आधारमा राेशन पक्राउ परेकाे घटनामा बालेनकै निकट मानिने भिक्टर रुष्ट भएका हुन् ।

प्रधानमन्त्री बालेनलाई साथ दिँदै आएका कलाकार तथा रास्वपा नेता हिमेश पन्तले पनि राेशनकाे पक्राउपछि विराेध गरे । गाली रोक्ने नाममा आलोचना दबाउने सरकार लोकतन्त्रको दुश्मन हो भनेका छन् र उनका सहनशीलता नभएकाे भन्दै आलाेचना गरेका छन् ।

जेन-जी अभियन्ता भावना राउत, तनुजा पाण्डे र जेन-जी मुभमेन्टले राेशन पक्राउ गरेर विराेधी आवाजलाई बालेनले दबाउन खाेजेकाे भन्दै कडा शब्दमा विराेध गरेका छन् । यसरी चाैतर्फी विराेधपछि आइतबार नै राेशनकाे रिहा भएकाे छ ।

 

 

बालेनलाई मोदीको निम्तो,अर्थमन्त्री खनालले गरे यस्तो खुलासा ?

काठमाडौं। नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मौरिसस पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्भावित भारत भ्रमणबारे खुलासा गरेका छन्।

भारतीय समकक्षी एस. जयशंकरसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनलाई औपचारिक निम्तो दिएको र उक्त निम्तो स्वीकार गरिएको खुलासा गरेका हुन् ।

उनका अनुसार भ्रमणबारे प्रारम्भिक सहमति भए पनि यसको मिति र कार्यतालिका निर्धारणका लागि थप कूटनीतिक संवाद आवश्यक छ।

उक्त भेटवार्तामा उच्चस्तरीय भ्रमणअघि सचिवस्तरमा तयारी भेटघाट गर्ने समझदारी पनि बनेको जनाइएको छ। यसै क्रममा भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री निकट भविष्यमा नेपाल आउने तयारीमा रहेको बताइएको छ, जसले भ्रमणका अन्य पक्षहरू टुंग्याउने अपेक्षा गरिएको छ।

मन्त्री खनालले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रधानमन्त्रीले निम्तो स्वीकार गरिसकेको तर समय निर्धारण सम्बन्धित निकायहरूले गर्ने बताए।

तर, परराष्ट्र मन्त्रालयका केही अधिकारीहरूले भने यस विषयमा औपचारिक जानकारी नभएको बताएका छन्। उनीहरूका अनुसार मन्त्रीको अभिव्यक्तिबाट नै यो विषय सार्वजनिक भएको हो र मन्त्रालयस्तरमा हालसम्म कुनै स्पष्ट छलफल भएको छैन।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँगको भेटमा समेत यस विषयमा चर्चा नभएको ती अधिकारीहरूको भनाइ छ।

यसअघि नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमण प्रायः भारतबाट सुरु हुने परम्परा रहेको थियो। तर पछिल्ला वर्षहरूमा यो परम्परामा परिवर्तन देखिएको छ। उदाहरणका लागि केपी शर्मा ओलीले आफ्नो कार्यकालमा पहिलो भ्रमण चीनबाट सुरु गरेका थिए।

विश्लेषकहरूका अनुसार प्रधानमन्त्री बालेन शाह परम्परागत ढाँचाभन्दा फरक शैली अपनाउने भएकाले निम्तो पाएलगत्तै भ्रमण गर्नेभन्दा पनि आवश्यक तयारीपछि मात्र निर्णय लिने सम्भावना देखिन्छ।

 

प्रधानमन्त्री कप : सुदूरपश्चिमसँग पुलिस ५६ रनले पराजित

काठमाडौँ । जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ५६ रनले पराजित भएको छ।

जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य पछ्याएको पुलिस ३५.१ ओभरमा १३५ रनमै समेटियो।

पुलिसका ओपनर कुशल भुर्तेल शून्य रनमै आउट भए भने अर्का ओपनर दिनेश खरेल १० रनमै पभिलियन फर्किए। पुलिसका लागि गुलशन झाले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ६४ बलमा ५० रन बनाउँदै ५ छक्का र १ चौका प्रहार गरे।

सुदूरपश्चिमका लागि हेमन्त धामी र शेर मल्लले समान ३-३ विकेट लिएर जित सुनिश्चित गरे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४०.४ ओभरमा १९१ रनमा अलआउट भएको थियो। टोलीका लागि नारायण जोशीले ८० बलमा ८२ रनको शानदार पारी खेले, जसमा ७ चौका र ६ छक्का समावेश थिए। कप्तान शेर मल्ल भने ३ रनमै आउट भए।

पुलिसका लागि दिनेश खरेलले ४ विकेट लिए भने सागर ढकालले ३ विकेट लिए।

प्रधानमन्त्री बालेनलाई गाली गरेर पक्राउ परेका युट्युबर छुटे

पाँचथर। युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल रिहा भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिश कर्णका अनुसार आवश्यक परेका बेला उपस्थित हुने सर्तमा उनलाई आफन्तको जिम्मा लगाएर छोडिएको हो।

पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ घर भएका पोखरेल चैत २६ गते पक्राउ परेका थिए। नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा उनलाई नियन्त्रणमा लिइएको थियो। पक्राउपछि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो।

उनको पक्राउपछि प्रधानमन्त्री बालेन शाहको सामाजिक सञ्जालमा आलोचना समेत भइरहेको छ। आलोचकहरूले बालेनका पुराना फेसबुक स्टेटस र भिडियोहरू पुनः सेयर गर्दै प्रतिक्रिया जनाइरहेका छन्।

अजर-अमर नेपाली गीतहरूमा ‘आशा भोसले’

काठमाडौं। भारतीय संगीत इतिहासकी चर्चित तथा बहुमुखी गायिका आशा भोसले नेपाली संगीत क्षेत्रमा पनि उत्तिकै प्रभावशाली नाम हो ।
उनले सात दशकभन्दा बढी लामो सांगीतिक यात्रामा १६,००० भन्दा बढी गीत गाएर आफ्नो अद्वितीय प्रतिभा स्थापित गरेकी छिन्।

सन् १९३३ सेप्टेम्बर ८ मा जन्मेकी आशा, भारतीय संगीत क्षेत्रकी दिग्गज गायिका लता मंगेशकरकी बहिनी हुन्। फरक मातृभाषा हुँदाहुँदै पनि आशाले शास्त्रीय, गजल, पप तथा अन्य विविध सङ्गीत विधामा नेपालीसहित २० भन्दा बढी भाषामा गीत गाएकी छिन् । बहुमुखी गायन क्षमता र स्वरको लचकताका कारण उनी अत्यन्त प्रभावशाली गायिकाका रूपमा चिनिन्छिन् । उनको योगदानको कदरस्वरूप उनलाई पद्म विभूषण तथा दादासाहेब फाल्के पुरस्कार लगायत दर्जनौँ पुरस्कार प्रदान गरिएको छ।

आशाको प्रभाव नेपालमा पनि निकै गहिरो रूपमा देखिन्छ। उनले नेपाली फिल्म तथा गीतहरूमा स्वर दिँदै नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्वादसँग जोड्न महत्वपूर्ण भूमिका खेलेकी छिन्। विशेषगरी सन् १९७०/८० को दशकमा नेपाली संगीत क्षेत्रमा भारतीय संगीतकार र गायकहरूसँग सहकार्य बढ्दै जाँदा भोसलेको उपस्थिति अझ मजबुत बनेको थियो। त्यस समय उनका गीतहरूले नेपाली श्रोतामाझ विशेष स्थान बनाएका थिए।

उनले गाएका धेरै नेपाली गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन् र विभिन्न कार्यक्रम तथा माध्यमहरूमा बजिरहन्छन्। नेपाली चलचित्रका लागि दिएको उनको स्वरले पाश्र्वगायनलाई नयाँ उचाइमा पुर्‍याएको मानिन्छ।

त्यतिबेला नेपाली संगीत उद्योग विकासकै चरणमा रहेको अवस्थामा भोसलेजस्तो अन्तर्राष्ट्रिय स्तरकी गायिकाको सहभागिताले कलाकारहरूमा आत्मविश्वास बढाएको थियो।

उनले नेपाली संगीतलाई व्यापक दर्शकमाझ चिनाउन सहयोग गरिन् । भारतीय रेडियो र क्यासेटमा उनका गीतसँगै नेपाली गीत पनि सुन्ने वातावरण बनेको थियो ।

उनले गाएका केही चर्चित नेपाली अजर-अमर गीतहरू:

साउने झरीमा…
रञ्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्दमा सजिएको यो गीतमा आशा भोसलेको मधुर स्वर सुन्न सकिन्छ।

माइतीघर… माइतीघर… (फिल्म: माइतीघर)
झण्डै ६ दशकअघि बनेको यो गीत आज पनि उत्तिकै लोकप्रिय छ। जयदेवको संगीत र किरण खरेलको शब्द रहेको यो गीत विभिन्न कार्यक्रमहरूमा अझै घन्किन्छ।

मोहनी लाग्ला है… (फिल्म: चिनो)
यस गीतमा आशा भोसलेले नारायण गोपालसँग संयुक्त स्वर दिएकी छिन्। रञ्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्दले गीतलाई अमर बनाएको छ।

पहाडको माथि माथि… (फिल्म: लाहुरे)
यो गीतमा पनि आशा भोसले र नारायण गोपालको सुमधुर स्वर छ। शब्द कुसुम गजमेर र तुलसी घिमिरेको तथा संगीत रञ्जित गजमेरको हो।

को होला मेरो मायालु… (फिल्म: मायालु)
रञ्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्दमा आशा भोसलेको भावपूर्ण प्रस्तुति रहेको छ।

टाढा भै नदेउ फेरि… (फिल्म: मायालु)
यो गीतमा आशा भोसले र प्रेमध्वज प्रधानको स्वर रहेको छ। संगीत रञ्जित गजमेरले दिएका छन्।

आज हाम्रो भेट भाको दिन…
यस गीतमा आशा भोसले र उदित नारायण झाको स्वर सुन्न सकिन्छ। संगीत शिला बहादुर मोक्तानको र शब्द चेतन कार्कीको हो।

माया त माया हो…
यो गीतमा पनि आशा भोसले र नारायण गोपालको स्वर रहेको छ। रञ्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्दले गीतलाई लोकप्रिय बनाएको छ।

गैरी खेतको शिरै हान्यो…
विद्यालय तथा सांस्कृतिक कार्यक्रमहरूमा निकै बज्ने यो गीतमा सम्भुजित बास्कोटाको संगीत र यादव खरेलको शब्द रहेको छ।

यति धेरै माया दियौ…
यस गीतमा आशा भोसले र प्रकाश श्रेष्ठको डुएट स्वर रहेको छ। संगीत मोहनहरी सिंहको हो।

यस्तै कालजयी नेपाली गीतहरू गाएकी आशाको आइतबार निधन भएको छ । ९२ वर्षीयाँ आशा मुटु र श्वासप्रश्वासम्बन्धी समस्याबाट केही महिनादेखि पीडित थिइन् । शनिबार अस्पताल भर्ना गरिएकी आशाको आइतबार निधन भएको हो । उनको निधनले भारतीय मात्रै नभएर नेपालीहरू पनि दुःखी भएका छन् । उनीप्रति सामाजिक सञ्जालहरूका माध्यमबाट श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

युट्युबर पोखरेलको पक्राउप्रति जेन-जी मुभमेन्टको आपत्ति,तत्काल रिहाइको माग

काठमाडौं। प्रहरीद्वारा युट्युबर रोशन पोखरेल पक्राउ गरिएको घटनाप्रति जेन-जी मुभमेन्ट नेपालले आपत्ति जनाएको छ।

जेन-जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले एक विज्ञप्ति जारी गर्दै पोखरेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गर्नु गलत र आपत्तिजनक कदम भएको भन्दै आपत्ति जनाएको हो ।

मुभमेन्टले पोखरेललाई तत्काल रिहा गर्न माग गर्दै एकतर्फी रूपमा व्यक्तिलाई निशाना बनाउँदै गरिएको पक्राउ कानुनी राज्यको सिद्धान्तविपरीत भएको जनाएको छ। यस्ता गतिविधिले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथि गम्भीर आघात पुर्‍याएको उनको भनाइ छ।

युट्युबमा प्रधानमन्त्री बालेन्द्र शाहलगायत नेताहरूलाई अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेल पक्राउ परेका थिए।

उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो।

गृहमन्त्री गुरुङको ‘पिर्के सलामी’ नलिने निर्णय

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले ‘पिर्के सलामी’ नलिने निर्णय गरेका छन्। आइतबार नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा पुगेर उनले यस्तो निर्णय सार्वजनिक गरेका हुन्।

कार्यक्रममा उनलाई सशस्त्र प्रहरी बल नेपाल का डीएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए। कार्यक्रममा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, एसपी युवराज खड्का, अनुसन्धान शाखाका एसपी अभिनय कुमार सिंह लगायत उच्च प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

औपचारिक स्वागत र निरीक्षण कार्यक्रमका क्रममा गृहमन्त्री गुरुङले अबदेखि ‘पिर्के सलामी’ ग्रहण नगर्ने निर्णय स्पष्ट पारेका हुन्। सुरक्षा निकायमा विद्यमान परम्परागत प्रोटोकलबारे पुनर्विचार आवश्यक रहेको संकेत दिँदै उनले सरल र व्यावहारिक शैली अपनाउनुपर्ने धारणा व्यक्त गरेका हुन्।

उनको यो निर्णयपछि सुरक्षा निकायको औपचारिक प्रोटोकल र परम्परागत सम्मान प्रणालीबारे पुनः छलफल सुरु हुने अपेक्षा गरिएको छ।

जनतालाई केन्द्रमा राखेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घले आइतबार आयोजना गरेको पत्रकार भेटमा उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताएका हुन् ।

उनले संविधान संशोधन लगायत नयाँ कानुन बनाउन सहजकर्ताका रुपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जाहेर गरे।
उनले भने, ‘विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरीकन पाउनुपर्छ भन्ने मेरो बुझाइ हो, त्यसकारण सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु।’

उनले जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्रयाक’ बाट कानुन निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। साथै, बूढीगण्डकी जलाशययुक्त आयोजना कार्यान्वयनका लागि सरकारलाई निरन्तर झकझक्याउने उनले बताए।

प्रधानमन्त्री बालेनप्रति युट्युबर रोशनको यौनजन्य हिंसासम्बन्धी अभिव्यक्ति (भिडियो)

काठमाडौं । बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएको दुई साताअघि नै उनीप्रति यौनजन्य हिंसा गर्नुपर्ने भन्दै गरेको अश्लील टिप्पणीयुक्त भिडियोलाई लिएर पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेल पक्राउ परेका छन् ।

अंग्रेजी र नेपाली आधा आधा मिसाएर बोलेका उनले प्रधानन्त्री बालेनप्रति सामूहिक रुपमा त्यस्तो हिंसा गर्नुपर्ने टिप्पणी गरेका थिए । बालेनलाई भन्दा अघि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा दम्पतीलाई बूढानीलकण्ठस्थित निवासमा लोत कुटपिट गरेको र हेर्ने आफूलाई समेत मजा आएको भनेका थिए ।

सबै नेतालाई पक्राउ गर्नुपर्ने, कुट्नुपर्ने र उपचार गर्दै फेरि कुट्नुपर्ने जस्ता हिंसात्मक अभिव्यक्ति पनि दिएका थिए ।

सोही भिडियोको अन्तिममा भने बालेनप्रति हिंसात्मक टिप्पणी गरेका थिए । रास्वपा सभापति रवि लामिछानेलाई अपमान गर्दै अर्कै नाम दिएका थिए ।

जेन–जी विद्रोहलगत्तै हाल सांसद भएका तत्कालीन धरानका मेयर हर्क साम्पाङको हर्कत देखिएको, काठमाडौंका तत्कालीन मेयर बालेनको घुक्याइँ देखेको र हामी नेपालका तत्कालीन अध्यक्ष सुधन गुरुङ रोएको देखिएको पनि बताएका थिए ।

उनले भिडियोमा नयाँ पुराना सबै दलका नेताहरूप्रति कडा टिप्पणी गरेका थिए । तर, प्रधानमन्त्री बालेनप्रतिको टिप्पणीलाई आधार मानेर उनी पक्राउ परेका हुन् ।

हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा संगठित भएका धेरै कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेकपा संयोजक पुष्पकमल दाहाललगायत नेताहरूप्रति हिंसात्मक अभिव्यक्ति दिन्थे ।

तर, पनि त्यसरी बोल्न पाउनु अभिव्यक्ति स्वतन्त्रतासँग जोड्थे । आलोचना गरेकाहरूलाई पक्रिँदैनथ्यो । जब बालेन प्रधानमन्त्री बने, आलोचकहरूलाई पक्राउ गर्दै थुन्नेतिर उन्मुख भएको भन्दै आलोचना भइरहेको छ ।

पक्राउ परेका रोशनको रिहाइ माग गर्दै सामाजिक सञ्जालहरूको बालेन सरकार निरंकुश बन्न खोजेको भन्दै मानिसहरुले आक्रोश पोखिरहेका छन् ।

नेपाल रेल्वे कम्पनी निरन्तर घाटामा,आम्दानीभन्दा खर्च तेब्बर बढी

महोत्तरी। देशको एकमात्र रेल सेवा सञ्चालन गरिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेड लगातार आर्थिक घाटामा रहेको देखिएको छ। पछिल्लो पाँच वर्षको तथ्याङ्कले आम्दानीभन्दा खर्च झण्डै तेब्बर बढी रहेको देखाउँदै सेवा दीर्घकालीन रूपमा संकटतर्फ उन्मुख भएको संकेत देखिएको हो।

कम्पनीको व्यावसायिक कार्ययोजना-२०८२ अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म १९ करोड २१ लाख रुपैयाँ आम्दानी हुँदा ६७ करोड ३७ लाख रुपैयाँ खर्च भएको छ। यस अवधिमा कुल ४८ करोडभन्दा बढी घाटा व्यहोर्नुपरेको उल्लेख गरिएको छ।

पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै ८ करोड ५० लाख आम्दानी हुँदा २६ करोड २७ लाख रुपैयाँ खर्च भएको छ। हाल मासिक आम्दानी करिब ७५ लाख रुपैयाँ भए पनि खर्च १ करोड २९ लाख रुपैयाँसम्म पुग्ने गरेको छ।

आम्दानीले खर्च धान्न नसक्दा कम्पनीले सरकारको जमानीमा ऋण लिएर सञ्चालन गर्नुपरेको छ। २०८१ असार मसान्तसम्म सावाँ र ब्याजसहित कुल ऋण ७९ करोड रुपैयाँ नाघिसकेको छ, जसले कम्पनीमाथि थप आर्थिक दबाब सिर्जना गरेको छ।

यात्री सेवाका हिसाबले भने रेल प्रभावकारी मानिएको छ। भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन भइरहेको सेवा दैनिक तीन पटक चल्छ। स्थानीय बासिन्दाका अनुसार रेलले यात्रा समय घटाएर दैनिक जीवन सहज बनाएको छ।

तर आर्थिक घाटाको प्रमुख कारणमध्ये भारतीय प्राविधिक जनशक्तिमा हुने उच्च खर्च मुख्य रहेको छ। हाल १७ जना भारतीय कर्मचारीका लागि मासिक करिब १ करोड १२ लाख रुपैयाँ भुक्तानी गरिँदा नेपालीतर्फ १०३ कर्मचारीको कुल तलब मात्र १७ लाख रुपैयाँ रहेको छ।

यसका साथै स्थायी प्राविधिक जनशक्ति अभाव, वर्कसपको कमी, स्वदेशी चालक र स्टेशन मास्टरको अभाव, फ्युलिङ स्टेशन नहुनु तथा इन्धनसमेत भारतबाट ल्याउनुपर्ने अवस्थाले सञ्चालन खर्च अझ बढाएको कम्पनीले जनाएको छ। लामो समयदेखि महाप्रबन्धक नहुनुले पनि व्यवस्थापन कमजोर बनेको छ।

वि.सं. १९९४ मा सुरु भएको रेल सेवा २०७० मा ब्रोड गेज विस्तारका लागि बन्द गरिएको थियो भने २०७८ चैत १९ देखि पुनः सञ्चालनमा आएको हो। हाल सेवा ५२ किलोमिटर क्षेत्रमा विस्तार भइसकेको छ।

कम्पनीले आम्दानी बढाउन विभिन्न विकल्प अघि सारेको छ। रक्सौलस्थित २८ एकड जग्गा भाडामा दिँदा वार्षिक करिब ८ करोड आम्दानी हुने अनुमान गरिएको छ। साथै पुरानो न्यारो गेज इन्जिनहरू राखेर रेल सङ्ग्रहालय स्थापना गरी पर्यटनमार्फत आय बढाउने योजना पनि अघि बढाइएको छ।

स्थानीय व्यवसायीहरूले यात्रुसँगै मालसामान ढुवानी सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार यात्रु सेवा मात्रबाट नाफा सम्भव छैन।

पूर्व महाप्रबन्धक निरञ्जन झा ले कम्पनीलाई नाफामुखी बनाउन कार्गो रेल सेवा चाँडो सञ्चालन गर्न आवश्यक रहेको बताएका छन्। उनका अनुसार यसबारे विगतमा छलफल भए पनि कार्यान्वयन हुन सकेको छैन।

भारतको कलकत्ता बन्दरगाहबाट सस्तो दरमा मालसामान ढुवानी गर्न कार्गो सेवा आवश्यक रहेको व्यवसायीहरूको धारणा छ। जनकपुरका व्यवसायी निर्मल चौधरीले यस्तो सेवा सञ्चालन भए ढुवानी सहज र सस्तो हुने बताएका छन्।

समयमै व्यवस्थापन सुधार, स्वदेशी दक्ष जनशक्ति विकास, मालवाहक सेवा विस्तार र ऋण व्यवस्थापन गर्न सके रेल सेवा नाफामुखी बन्न सक्ने देखिन्छ। अन्यथा, बढ्दो ऋणले नेपालको एकमात्र रेल सेवा अझै संकटमा पर्ने जोखिम बढ्दै गएको छ।

केपी ओलीमा देखिएको पथ्थरीको अप्रेसन गरिँदै

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया सोमबार गर्ने तयारी गरिएको छ। स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अपरेशन अनिश्चित भएको चर्चा चले पनि चिकित्सकहरूले शनिबार बेलुकासम्मको रिपोर्टअनुसार सोमबार शल्यक्रिया गर्न कुनै समस्या नरहेको बताएका छन्।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार अपरेशनअघि गरिनुपर्ने सबै परीक्षण पूरा भइसकेका छन्। ती परीक्षणका रिपोर्ट सकारात्मक आएकाले सोमबार नै शल्यक्रिया गर्न सकिने निष्कर्षमा चिकित्सकहरू पुगेका हुन्।

जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसअनुसार ओलीलाई चैत १३ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि सोही दिनदेखि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। हाल उनी एनेक्स-१ को शय्या नम्बर ५०१ मा चिकित्सकीय निगरानीमा उपचाररत छन्।

सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले ओली र उनीसँगै पक्राउ परेका कांग्रेस नेता रमेश लेखकलाई चैत २६ गते जिम्मा जमानीमा रिहा गरेको थियो। लेखक घर फर्किसकेका छन् भने ओलीलाई भने पत्थरीको उपचार नगरी डिस्चार्ज गर्न चिकित्सकहरूले अनुमति दिएका छैनन्।

तीनपटक मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीको पित्तथैलीमा पत्थरी देखिएको हो। पित्तथैलीमा कोलेस्ट्रोल र बिलिरुबिन जम्मा भई बन्ने ठोस पदार्थलाई गलब्लाडर स्टोन भनिन्छ।

क्युवामाथि अमेरिकी नाकाबन्दी विरुद्ध रोममा सयौंको प्रदर्शन

काठमाडौं । शनिवार इटालीको राजधानी रोममा सयौं मानिसहरू सडकमा उत्रिएर क्युवाली जनताप्रति ऐक्यवद्धता जनाएका छन् । 

क्युवा हाल गम्भीर ऊर्जा संकट र दशकौंदेखिको अमेरिकी आर्थिक नाकाबन्दीको चपेटामा छ । प्रदर्शनकारीहरूले ऐतिहासिक कोलोसियमबाट पियाजाले ओस्टिएन्सेसम्म मार्च गरेका थिए । उनीहरूले ‘क्युवा एक्लो छैन’ र ‘क्युवा विरुद्धको अमेरिकी नाकाबन्दी बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । 

मार्चका क्रममा क्युवाली झण्डाहरू फहराउँदै अमेरिकी नीतिको कडा निन्दा गरिएको थियो । 

डुङ्गा दुर्घटना हुँदा १९ जनाको मृत्यु

काठमाडौं । भारतमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने घटनाको एक दिन बितिसक्दा पनि ५ जना अझै बेपत्ता रहेका छन्।

उत्तर प्रदेशस्थित यमुना नदीमा श्रद्धालुहरू सवार डुङ्गा पल्टिँदा उक्त दुर्घटना भएको हो। सोही घटनामा ११ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ।

दुर्घटनापछि नदीबाट २२ जनालाई जिवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

१९ किलो गाँजासहित युवक पक्राउ

सिरहा । सिरहाको जिरोमाइल क्षेत्रमा १९ किलो गाँजासहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ का राजेश दास रहेका छन्।

नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा सुखिपुरबाट सशस्त्र प्रहरी निरीक्षक यादव खत्रीको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दासलाई नियन्त्रणमा लिएको हो।

जाँचका क्रममा उनको साथबाट १९ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार दाससँगै तस्करीमा प्रयोग गरिएको अटो रिक्सा, बिग्रिएको भन्दै टोइङ गर्न प्रयोग गरिएको मोटरसाइकल, नगद २५ हजार १०५ रुपैयाँ पनि बरामद गरिएको छ। साथै, एउटा रेडमी ए फाइभ मोबाइल र करिब ११ तोला बराबरको चाँदीको ब्रेसलेट समेत फेला परेको छ।

दिग्गज गायिका आशा भोस्लेको निधन

काठमाडौं। भारतीय पार्श्व गायनकी शिखर व्यक्तित्व आशा भोस्लेको आइतबार मुम्बईमा निधन भएको छ। ९२ वर्षीया भोस्लेलाई अत्यधिक थकान र छातीमा संक्रमण भएपछि शनिबार साँझ मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालले आइतबार उनको निधन भएको पुष्टि गरेको हो। यसअघि उनकी नातिनी जनाई भोस्लेले सामाजिक सञ्जाल एक्स मार्फत उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै गोपनीयता कायम गरिदिन र स्वास्थ्य लाभको कामना गरिदिन अनुरोध गरेकी थिइन्।

८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रको साङ्लीमा जन्मिएकी आशा भोस्ले शास्त्रीय गायक तथा अभिनेता पण्डित दीनानाथ मङ्गेशकरकी छोरी हुन्। उनी ९ वर्षको हुँदा पिताको निधन भएपछि उनको परिवार कोल्हापुर र पछि मुम्बई बसाइँ सरेको थियो।

दिदी लता मङ्गेशकरसँगै उनले कलिलै उमेरदेखि गायन यात्रा सुरु गरेकी थिइन्। सन् १९४३ मा मराठी फिल्म ‘माझा बाल’ बाट गायन यात्रा सुरु गरेकी उनले १९४८ मा फिल्म ‘चुनरिया’ मार्फत हिन्दी सिनेमामा प्रवेश गरेकी थिइन्।

शास्त्रीय संगीत, गजल, भजनदेखि आधुनिक पप र क्याबरेट गीतसम्ममा उत्तिकै दख्खल राख्ने भोस्लेले २० भन्दा बढी भाषामा १२,००० भन्दा बढी गीत रेकर्ड गराएकी छिन्। उनले ओ.पी. नय्यर, आर.डी. बर्मन  र ए.आर. रहमान जस्ता संगीतकारसँग मिलेर धेरै सदाबहार गीतहरू दिएकी थिइन्।

‘चुरा लिया है तुमने जो दिल को’, ‘दम मारो दम’ र ‘दिल चीज क्या है’ जस्ता गीतहरूले उनलाई विश्वभरका संगीतप्रेमीमाझ अमर बनाएका छन्।

नदीमा डुबेर एकजनाको निधन

जनकपुरधाम।सिरहा र धनुषाको बिचमा पर्ने कमला नदीमा डुबेर एकजना युवकको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका-६ बस्ने १८ वर्षीय महम्मद आयन कमडको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
शनिबार पिकनिक गएका उनी गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नंं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्तसहितको सशस्त्र प्रहरीले उनलाई आज बिहान करिब १० बजे फेला पारेको हो ।

नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना छः मन्त्री चौधरी

काठमाडाैं। वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छन् ।

वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आईतवार आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले सम्भावना हुँदाहुँदै पनि त्यसलाई अझै प्रारम्भिक चरणमै सिमित राखिएको बताइन् ।

उनले विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी कम्तीमा प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्न निर्देशन दिइन् । उनकाअनुसार यस प्रकारको पहलले नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ उचाईककमा पु¥याउन सहयोग पुग्नेछ । उनले विभागले विकास गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावसायिक उत्पादनमा लैजान सकिने बताइन्। यसले राजश्व वृद्धिसँगै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा टेवा पुग्ने उनको भनाई छ ।

अनुसन्धानमूलक उपलब्धिलाई प्रयोगमा ल्याउन ढिलाइ नगर्न आग्रह गर्दै मन्त्री चौधरीले वैज्ञानिकहरूलाई प्रोत्साहन गर्ने व्यवस्था आवश्यक रहेको उल्लेख गरिन् । वनस्पति तथा जडिबुटी क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिइन्। ग्रामिण क्षेत्रको गरिबी न्युनिकरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा जडिबुटी क्षेत्रले महत्वपूर्ण योगदान पु¥याउने उनको विश्वास छ ।

सरकार वनस्पति तथा जडिबुटी क्षेत्रको विकासका लागि आवश्यक नीति, ऐन तथा कानूनी सुधार गर्न प्रतिवद्ध रहेको उनको भनाई छ । उनले समयसापेक्ष सुधारमार्फत निजी क्षेत्रलाई आकर्षित गर्ने र अनुसन्धानलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेको बताइन् ।

लेबनानमा इजरायली हवाई आक्रमणमा १२ सुरक्षाकर्मीसहित १९ जनाको मृत्यु

काठमाडौं ।  दक्षिणी र पूर्वी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणको श्रृंखलामा १२ लेबनानी राज्य सुरक्षा सदस्यसहित १९ जनाको मृत्यु भएको छ । 

अन्य कैयौं घाइते भएका छन् । आधिकारिक स्रोतहरूकाअनुसार लेबनानको नेशनल न्युज एजेन्सीले नबातियह शहरमा वर्तमान युद्ध शुरु भएदेखि यताकै सबैभन्दा तिब्र आक्रमण भएको रिपोर्ट गरेको छ । 

इजरायली युद्धविमानहरूले धेरै टोल र सडकहरूलाई निशाना बनाएर भारी बमबारी गर्दा व्यापक भौतिक क्षति पुगेको छ । सरकारी भवन नजिकै भएको आक्रमणले भवनहरू ध्वस्त पारेको छ र मानवीय क्षति निम्त्याएको छ । लेबनानी राष्ट्रपति कार्यालयका अनुसार प्रारम्भिक गणनामा आक्रमणका क्रममा १२ सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि भएको छ । उद्धार टोलीहरूले घाइतेहरूलाई अस्पताल पु¥याएका छन् र भग्नावशेषमुनि खोजी कार्य जारी राखेका छन् । 

रिपोर्टका अनुसार इक्लिम अल–तुफाह क्षेत्रको शहरको केन्द्रमा रहेको एक कार वास सेन्टरमा इजरायली आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ । त्यस्तै, पूर्वी लेबनानको अंसार सहरमा भएको अर्को आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ । एक लेबनानी सुरक्षा स्रोतले बताएअनुसार इजरायली युद्धविमान र ड्रोनले गत केही घण्टामा दक्षिणी र पूर्वी लेबनानका विभिन्न स्थानहरूमा करिबव४२ पटक हवाई आक्रमण गरेका छन् । 

मार्चको शुरुदेखि लेबनानमा क्षेत्रीय अस्थिरताका बीच सैन्य तनाव बढ्दै गएको छ । सन् २०२४ नोभेम्बरमा युद्धविराम घोषणा भएयता पहिलो पटक मार्च २ मा हिजबुल्लाहले दक्षिणी लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेपछि इजरायलले बेरुत र यसका दक्षिणी उपनगरहरू लगायतका क्षेत्रमा हवाई आक्रमण तिब्र पारेको हो ।