`

विपक्षी दललाई रास्वपाले स्मरण गरायो नियमावली

काठमाडौं। विपक्षी दलले प्रधानमन्त्री बालेन शाहको खोजी गर्दै सदन अवरोध गरेपछि सत्तारुढ दल रास्वपाले प्रतिनिधि सभा नियमावलीको दफा ५० हेर्न सुझाएका छन्।

रास्वपाको तर्फबाट बोल्दै सांसद अशोक चौधरीले भने, ‘सभामुखले प्रश्न सोध्ने अधिकारको दुरुपयोग गरेको वा संविधान वा त्यस नियमावलीको विरुद्ध वा सदनको प्रतिष्ठामा आँच आउने वा बैठकको कार्यविधिमा बाधा पर्ने सम्भावना देखिएमा त्यस्तो प्रश्नलाई सभामुखले पूर्ण वा आंशिक रूपमा अस्वीकार गर्न सक्नेछ’ भन्ने प्रावधान रहेको छ।’

उनले थपे, ‘प्रधानमन्त्रीज्यूले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीज्यूलाई जिम्मेवारी तोकेर पठाइसकेको छ। हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा ५० को (४) मा पनि उल्लेख गरिएको छ। यो कुराहरू हेर्नको अनुरोध गर्छु।’

समायोजनमा ढिलाइ : राप्रपा-राप्रपा नेपाल एकीकरण अलपत्र

काठमाडौं । राप्रपाका नेता कमल थापाले राप्रपा र राप्रपा नेपालबीच भएको एकीकरण प्रक्रिया अझै टुंगोमा नपुगेको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनको ध्यानाकर्षण गराएका छन् ।

गत ०८२ पुस १६ गते दुई पार्टीबीच एकीकरण भए पनि समायोजन प्रक्रिया, भातृ संगठनहरूको एकीकरण तथा औपचारिक संरचनागत कामहरू अझै पूरा नभएको उनले बताएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै भनेका छन्, ‘तर, एकीकरण भएको पाँच महिना बित्न लाग्दा समेत स्थानीय र केन्द्रीय तहमा समायोजन हुन सकेको छैन भने भातृ सङ्गठनहरूको एकीकरण पनि अझै अलपत्र छ। यहाँसम्म कि निर्वाचन आयोगमा पार्टी एकताको औपचारिक पत्र समेत पठाउन सकिएको छैन। यसले गर्दा दुवै पार्टीका कार्यकर्ताहरूमा अन्योल र अनिश्चितता बढेको छ। बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने कार्य अधुरै छ।’

उनले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा हिन्दु राष्ट्र र राजसंस्थासहितको वैकल्पिक राष्ट्रवादी शक्तिको आवश्यकता अझ बढ्दै गएको पनि उल्लेख गरेका छन् ।

यसैबीच, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने समायोजन प्रक्रिया रोकिएको नभई पार्टी निर्वाचन र आन्तरिक व्यस्तताका कारण ढिलाइ भएको स्पष्ट पारेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिमा राप्रपा नेपालबाट ७ जनाको समायोजन भइसकेको जानकारी दिएका छन् ।

श्रेष्ठले भनेका छन्, ‘अन्य निकायमा समायोजनका बाँकी कामहरू टुङ्गो लगाउन राप्रपाबाट वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र तत्कालीन राप्रपा नेपालबाट नेता राजीव पराजुलीलाई जेठ १ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिम्मेवारी दिएको छ।’

उनले समायोजन रोक्ने कुनै मनसाय नरहेको भन्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन आग्रह गरेका छन् ।

उनको स्टाटस जस्ताको त्यस्तै:

बालेनलाई संसदमा बोल्न बाध्य बनाउने, ‘धारा ७६’ र ‘नियम ५६’ मा के छ?

काठमाडौं। प्रतिनिधि सभाको बिहिवारको बैठकमा विपक्षी दलहरुले संसद बैठक अवरोध गरेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को तर्फबाट कानून मन्त्री सोविता गौतमलाई प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न सभामुख डीपी अर्यालले समय दिएपछि उठेर विरोध जनाएका हुन् ।

विरोध जारी रहेपछि प्रतिपक्षी दल एमालेका सांसद ऐन बहादुर महरलाई सभामुखले बोल्न एक मिनेटको समय दिए।  तर सांसद महरले एक मिनेट समय लिन मानेनन्।

उनले भने, ‘मैले समय नै दिएको छैन, माइक पनि दिएको छैन, माननीय सदस्य एकोहोरो बोलिरहनु भएको छ। मर्यादामा नै छ? माननीय सदस्य ऐन महरलाई म समय दिन चाहन्छु। माननीय सदस्य ऐन महरले कति घण्टा समय माग्नुहुन्छ?’

त्यसपछि सभामुख अर्यालले  उनलाई तीन मिनेटको समय दिएपछि उनि बोले।

उनले भने, ‘जनमतलाई हुर्मत लिने काम हुँदै छ। त्यसकारण संविधानको धारा ७६ को १० बमोजिम सदनप्रति उत्तरदायी बन्नुपर्छ।  सरकार, जनताका आवाजहरू सुनुवाइ गर्नुपर्छ र त्यसप्रति जवाफ दिनुपर्छ भन्ने हामीले भनेका थियौँ। प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ मा गरिएको व्यवस्थालाई अनदेखा भएको छ।’

प्रतिनिधि सभाको नियमावलीलाई अनदेखा गरेर सदन अगाडि बढ्न नसक्ने अडान सुनाए। उनीसहित नेकपा युवराज दुलाल, श्रम संस्कृतिका आरेन राई, राप्रपाकी खुश्वु ओलीले पनि सदनमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान राखे।

दुलालले संविधान र संसद् नियमावली कार्यान्वयनको विषयमा सरकार र संसद्को भूमिकाप्रति प्रश्न उठाए।

उनले भने, ‘संविधान र नियमावलीलाई सरकारको सुविधा अनुसार मात्रै लागू गर्ने प्रवृत्ति बढेको छ। सरकारलाई सजिलो हुने विषयमा नियमावली लागू गर्ने, तर सरकारलाई अप्ठ्यारो पर्ने विषयमा लागू नगर्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन। सांसदहरू जनताबाट निर्वाचित प्रतिनिधि भएकाले संविधान र कानुनको पालना गराउन जिम्मेवार हुनुपर्छ।’

संसद्मा संविधान र नियमावलीको पूर्ण कार्यान्वयन हुनुपर्ने बताए ।

के छ प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ मा ?

संविधानको धारा  ७६ को १०  मा यस्तो छ 

(१०) प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा संघीय संसदप्रति उत्तरदायी
हुनेछन् र मन्त्री आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रूपमा
प्रधानमन्त्री र संघीय संसदप्रति उत्तरदायी हुनेछन्।

बालेनको मैमत्ताशैली, के टापुकै सम्राट हुन् बालेन ?

काठमाडौं । निरङ्‍कुशता र अधिनायकवादतर्फ उन्मुख प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अहिले संसदभित्र र बाहिर सर्वाधिक आलोचनाको केन्द्रमा छन् । कारण, उनी संसद्प्रति गैरजिम्मेवार बने । सांसदहरूले नीति तथा कार्यक्रममा उठाएका प्रश्नको जवाफ दिएनन् ।

विनियाेजन विधेयकमाथिकाे छलफलमा उठेका प्रश्‍न बेवास्ता गरे । प्रतिनिधि सभाप्रति बेवास्तापूर्ण व्यवहार देखाए । अर्काे शब्दमा भन्दा संसद्काे अवमूल्यन गरे । उनले मैमत्ता प्रवृति देखाए । बालेनकाे यस्ताे प्रवृतिकाे संसदभित्र आलाेचना भइरहेकाे छ ।

बिहीबारकाे प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको कार्यशैलीप्रति आक्राेश पाेख्दै भने, ‘उहाँ यो संसद्को अंग हो कि कुनै टापुको सम्राट ?’

विशेष समयमा बोल्दै उनले संसद् लोकतान्त्रिक शासन व्यवस्थाको सर्वोच्च संस्था भएकाले प्रधानमन्त्रीले त्यसप्रति उत्तरदायी हुनैपर्ने बताए । उनले विशेषगरी विपद् व्यवस्थापन, मनसुन पूर्वतयारी र गृहमन्त्रालयसँग सम्बन्धित गम्भीर विषयमा प्रधानमन्त्री गैरजिम्मेवार देखिएको आरोप लगाए ।

‘प्रधानमन्त्री स्वयं अहिले गृहमन्त्री पनि हुनुहुन्छ । यस्तो बेला संसद्‍मा उपस्थित भएर जवाफ दिनुपर्ने होइन ?’ उनले प्रश्न गरे ।

पछिल्ला केही दिनयता प्रतिनिधिसभामा देखिएको तनावको मुख्य कारण नै प्रधानमन्त्री शाहको अनुपस्थिति बनेको छ । विपक्षी दलहरूले सरकारलाई संसद्प्रति उत्तरदायी बनाउन खोजिरहेका बेला प्रधानमन्त्री शाह सदनमा उपस्थित नभएको भन्दै उनीमाथि आलोचना चुलिएको हो ।

विशेषगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई प्रधानमन्त्रीका सबैभन्दा कडा आलोचकका रूपमा देखिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ आकस्मिक समय लिएर बोल्दै उनले प्रधानमन्त्रीको राजीनामासमेत माग गरे ।

उनले आफूहरूले गत वैशाख २८ र २९ गते भारतले अतिक्रमण गरेको नेपाली भूमि, रिक्त गृहमन्त्रालय, सुकुम्बासी समस्या तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयमा प्रश्‍न उठाएको तर प्रधानमन्त्रीबाट कुनै जवाफ नआएको बताए । प्रतिनिधिसभा नियमावलीअनुसार सांसदले उठाएको प्रश्‍नको सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था भए पनि प्रधानमन्त्रीले त्यसको पालना नगरेको उनको आरोप थियो ।

‘प्रधानमन्त्री संसद्‍मा आउनुहुन्‍न, प्रश्नको जवाफ दिनुहुन्‍न । उहाँ यो संसद्को सदस्य हो कि होइन ? यो देशमा संसद् छ कि छैन ?’ भन्दै उनले संसद्‍मै आक्रोश पोखेका थिए ।

साम्पाङले प्रधानमन्त्रीले आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न नसक्ने भए राजीनामा दिनुपर्ने बताए । ‘संसद्प्रति जवाफदेही नहुने हो भने उहाँ कसप्रति जवाफदेही हो ? यदि यस्तै हाे भने उहाँले मार्गप्रशस्त गर्दा राम्राे हुन्छ’ , उनले भने ।

प्रधानमन्त्री बालेनविरुद्धको विरोध भाषणमा मात्र सीमित छैन । पछिल्ला केही बैठकदेखि श्रम संस्कृति पार्टीका सांसदहरूले संसद्‍मा प्लेकार्ड प्रदर्शन गर्दै विरोध गरिरहेका छन् । प्रधानमन्त्री र मन्त्रीहरू संसद्‍मा उपस्थित नभएको भन्दै उनीहरूले पटकपटक बैठक अवरुद्ध गर्ने प्रयास गरेका छन् ।

बिहीबार पनि सभामुख डीपी अर्यालले पटकपटक चेतावनी दिएपछि पनि हर्क साम्पाङ आफ्नो विरोधबाट पछि हटेनन् । संसद् भवन परिसरमा सञ्‍चारकर्मीसँग कुरा गर्दै उनले सरकार संसद्प्रति जिम्मेवार नबन्दासम्म आन्दोलन जारी रहने बताए ।

‘हाम्रो विरोध पाँच वर्षसम्म पनि चल्न सक्छ । जनताको पक्षमा बोल्दा निलम्बन हुनुपर्छ भने त्यसका लागि पनि तयार छौँ,’ उनले भने ।

प्रधानमन्त्री शाहकाे प्रवृत्तिप्रति आलोचना गर्दा रास्वपाबाटै सभामुख बनेका डीपी अर्यालले साम्पाङले अमर्यादित र अभद्र व्यवहार गरेकाे भन्दै निष्काशन गर्नेगरिकाे प्रतिनिधि सभा नियमावलीकाे नियमबारे ध्यानाकर्षण गराएपछि नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएकाे छ ।

कांग्रेसका सचेतक निश्कल राईले बालेन सरकार र सभामुख अर्याल दुवैको भूमिकामाथि प्रश्‍न उठाएका छन् । उनले प्रतिपक्षले सरकारलाई जवाफदेही बनाउन खोज्दा त्यसलाई सभामुख अर्यालले अमर्यादित व्यवहार भन्‍नु गलत भएको बताए ।

उनले विगतमा हालको सत्तारुढ दल प्रतिपक्षमा हुँदा संसद्‍मा वेल घेर्ने, निलो स्कार्फ बाँध्‍ने र पुस्तक पढेर विरोध गर्ने गरेको स्मरण गराउँदै अहिले प्रतिपक्षले प्लेकार्ड देखाउँदा मात्रै नियम सम्झाइनु दोहोरो मापदण्ड भएको टिप्पणी गरे ।

‘त्यतिबेला आफूहरूले गरेको गतिविधि संसदीय हुने, अहिले प्रतिपक्षले प्रश्‍न गर्दा अमर्यादित हुने ?’ उनले प्रश्‍न गरे ।

उनले सरकार ‘परम्परा भत्काउने’ नाममा संसदीय अभ्यासलाई कमजोर बनाउने दिशामा अघि बढेको आरोप पनि लगाए । उनका अनुसार व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि हस्तक्षेप गर्ने प्रवृत्ति बढिरहेको छ ।

यसबीच सभामुख डीपी अर्याल पनि दबाबमा परेका छन् । एकातिर प्रतिपक्षले सरकारलाई संसद्मा उपस्थित गराउन कडा रुलिङ गर्न माग गरिरहेको छ भने अर्कोतर्फ सदनको मर्यादा कायम राख्ने जिम्मेवारी सभामुखमाथि छ ।

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको विभिन्‍न व्यवस्था उल्लेख गर्दै बैठकमा अव्यवस्था सिर्जना नगर्न चेतावनी दिएका थिए । नियमावलीअनुसार अभद्र व्यवहार गर्ने सदस्यलाई बैठकबाट निष्कासन गर्न सकिने र बारम्बार अवरोध गरे निलम्बनसम्म गर्न सकिने व्यवस्था छ ।

तर विपक्षी दलहरूको तर्क भने फरक छ । उनीहरूका अनुसार संसद्‍मा प्रश्‍न उठाउनु, सरकारलाई उत्तरदायी बनाउन खोज्‍नु र प्रधानमन्त्रीको उपस्थितिको माग गर्नु लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया हो । त्यसलाई अमर्यादित व्यवहार भन्‍न नमिल्ने उनीहरूको दाबी छ ।

प्रधानमन्त्री शाहको कार्यशैलीलाई लिएर अहिले राजनीतिक वृत्तमा व्यापक बहस सुरु भएको छ । प्रत्यक्ष जनमतको बलमा स्थापित भएका प्रधानमन्त्री शाहले परम्परागत राजनीतिभन्दा फरक शैली अपनाइरहेका भए पनि संसद्जस्तो संवैधानिक संस्थासँग देखिएको दूरीले विवाद निम्त्याएको विश्लेषण भइरहेको छ ।

विपक्षी दलहरूको मुख्य आरोप प्रधानमन्त्री संसद्को सर्वोच्चतालाई कमजोर बनाउन खोजिरहेका छन् भन्‍ने हो । उनीहरूका अनुसार संसद् जनप्रतिनिधिहरूले जनताको आवाज उठाउने सर्वोच्च थलो हो । यदि प्रधानमन्त्री स्वयं संसद्‍मा उपस्थित नहुने, उठेका प्रश्‍नको जवाफ नदिने र आलोचनालाई बेवास्ता गर्ने हो भने लोकतान्त्रिक प्रणालीमाथि नै नकारात्मक असर पर्न सक्छ ।

यसैबीच नेकपाका प्रमुख सचेतक युवराज दुलाल ले पनि संसद्लाई प्रभावकारी र उत्तरदायी बनाउने स्पष्ट व्यवस्था आवश्यक रहेको बताएका छन् । उनले संसद् ‘गफ गर्ने अखडा’ नभई जनताको समस्या समाधान गर्ने थलो भएको उल्लेख गर्दै प्रधानमन्त्री र मन्त्रीहरूलाई संसद्प्रति स्पष्ट रूपमा उत्तरदायी बनाइनुपर्ने धारणा राखे ।

प्रधानमन्त्री शाहको संसद्प्रति देखिएको व्यवहारले अहिले सत्ता-प्रतिपक्षबीचको दूरी झन् बढाएको छ । प्रतिपक्षी दलहरूले संसद्‍मा प्रधानमन्त्रीको नियमित उपस्थितिको माग गरिरहेका छन् भने सरकार पक्षले प्रतिपक्षले अनावश्यक रूपमा संसद् अवरुद्ध गर्न खोजेको आरोप लगाइरहेको छ ।

तर विपक्षी दलहरू एकमत छन्, संसद्‍मा उठेका प्रश्‍नको जवाफ दिनु प्रधानमन्त्रीको संवैधानिक र राजनीतिक दायित्व हो । यदि प्रधानमन्त्रीले नै संसद्लाई बेवास्ता गर्ने प्रवृत्ति देखाउने हो भने संसदीय लोकतन्त्रको मूल मर्ममाथि प्रश्‍न उठ्ने उनीहरूको चेतावनी छ ।

यसरी संसद्प्रति देखिएको व्यवहार, प्रतिपक्षसँगको टकराव र बढ्दो राजनीतिक विवादका कारण प्रधानमन्त्री बालेन्द्र शाह अहिले देशकै सर्वाधिक आलोचनाको केन्द्रमा पुगेका छन् ।

विपक्षी दलहरुद्वारा संसद बैठकमा अवरोध

काठमाडौं । विपक्षी दलहरुले संसद बैठक अवरोध गरेका छन्। 

नेकपा एमालेकी यशोदा कुमारी बरालले मागेको आकस्मिक समय नपाएपछि बैठक अवरोध गरेका हुन्। उनीहरुले प्रतिपक्षको आवाज दबाउने प्रयास भएको आरोप लगाएका छन्। 

यसपछि प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहका तर्फबाट कानुन मन्त्री सोबिता गौतमले विधेयक प्रस्तुत गर्दैगर्दा विपक्षीहरुले बैठक अवरोध गरेका हुन्।  

‘राष्ट्रिय ट्रमा नीति’ तत्काल निर्माण गर्न सांसद कार्कीको माग

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गरी कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सडक दुर्घटनाका कारण बढ्दै गएको मानवीय क्षतिप्रति सरकार गम्भीर बन्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘राज्यले कर उठाउँछ, सडक बनाउँछ, तर आफ्ना नागरिकलाई सडकमा मर्नबाट जोगाउन सकेन भने त्यो केवल प्रशासनिक कमजोरी मात्रै होइन, त्यो राज्यको नै नैतिक र नीतिगत पराजय हुनेछ ।’

उनका अनुसार सडक दुर्घटना नियन्त्रणका लागि तत्काल राष्ट्रिय ट्रमा नीति निर्माण आवश्यक छ ।

उनले अगाडि भनिन्, ‘अघिल्ला सरकारले के गरे, कसो गरे? कहाँ चुके भन्नेकुरा हामीलाई थाहा छैन, तर नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्। अब पनि फाइल अड्कियो, निर्देशिका थन्कियो भनेर हामीलाई पन्छिने छुट छैन।’

सांसद कार्कीले थपिन्, ‘त्यसैले अब हामीले भन्न सक्नु पर्दछ नेपाली जनतालाई, तपाईँहरूले कोभिडको खोप त लगाउनुभयो, तर दिनहुँ सडकमा भइरहेका अघोषित महामारी रोक्नका लागि नीतिगत खोप यो सरकारले दिन्छ, हामी दिन्छौँ। हामीले यो भन्न सक्नु पर्दछ।’

उनले निष्कर्षमा भनिन्, ‘त्यसैले म अनुरोध गर्दछु–आजैबाट हामीले राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थाल्यौँ भने भविष्यमा हुने ठूलो दुर्घटनाहरू र थुप्रै ज्यानहरूलाई हामी मर्नबाट जोगाउन सक्छौँ।’

बाँदर भगाउन रकेट बनाउन भन्दा गारो छ : महावीर पुन(भिडियाे)

काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले देशका विभिन्न स्थानमा देखिएको बाँदर आतंक नियन्त्रणका लागि वैज्ञानिक अनुसन्धान आवश्यक रहेको बताएका छन्।

उनका अनुसार बाँदर नियन्त्रणका लागि तत्काल कराएर वा नाराबाजी गरेर समाधान ननिस्कने भएकाले व्यवस्थित अध्ययन र प्रविधिमूलक उपाय खोज्नुपर्ने आवश्यकता छ। यसका लागि सरकारले ५ देखि ७ करोड रुपैयाँ बजेट छुट्याउनुपर्ने उनको सुझाव छ।

सांसद पुनले संसदमा भइरहेको छलफलप्रति संकेत गर्दै बाँदर समस्या भाषण वा दबाबले समाधान नहुने बताए। उनले बाँदर बुद्धिमान जनावर भएकाले यसको व्यवस्थापनका लागि विश्वव्यापी रूपमा प्रभावकारी उपाय अहिलेसम्म विकास नभएको दाबी गरे।

उनले बाँदर नियन्त्रणसम्बन्धी अनुसन्धान टोली गठन गर्ने तयारी भइरहेको सुन्नमा आएको उल्लेख गर्दै आफूलाई पनि उक्त टोलीमा समावेश गर्न अनुरोध गरेको बताए। उनका अनुसार वैज्ञानिक अध्ययनमार्फत मात्र दीर्घकालीन समाधान सम्भव हुने र एकल उपायले समस्या समाधान नहुने उनको धारणा छ।

सांसद केसीको कटाक्ष : प्रधानमन्त्री कुनै टापुको सम्राट हो कि संसद्को अभिन्न अङ्ग हो ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)संसद्प्रति जवाफदेही नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको भूमिका र संसद्प्रतिको सम्बन्धबारे प्रश्न उठाएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री नै अहिले गृह मन्त्री हुनुहुन्छ। गृह मन्त्रालयले अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने विषय हो। अब उहाँ नै गृह मन्त्री हुनुहुन्छ, उहाँ स्वयं यो संसद्को अङ्ग हो कि होइन मैले थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्यको कतैको टापुको सम्राट हो कि यो संसद्को नै अभिन्न अङ्ग हो, त्यतातिर पनि म ध्यानाकर्षण गर्न चाहन्छु।’

सांसद केसीले सरकारले संसद्प्रति जवाफदेही हुनुपर्ने आवश्यकता औँल्याउँदै मनसुन नजिकिँदै गएको अवस्थामा पूर्वतयारीलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

उनले विगतका वर्षहरूमा भएको क्षतिको पुनरावृत्ति रोक्न योजनाबद्ध रूपमा काम गर्न सरकारलाई आग्रह गरे ।

उनका अनुसार क्षति न्यूनीकरणका लागि विगतका कमजोरीबाट पाठ सिक्दै दीर्घकालीन कार्ययोजना आवश्यक छ, नत्र समस्या दोहोरिने खतरा रहन्छ ।

विवाहित पुरुषलाई ‘अविवाहित’ सिफारिस दिने वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक। लिखत कीर्तेसम्बन्धी कसुरमा बाह्रबिसे नगरपालिका-२ का वडाध्यक्ष रेशम तामाङ पक्राउ परेका छन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी काजीकुमार आचार्यका अनुसार तामाङलाई बाह्रबिसे क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा वडाध्यक्ष तामाङले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई एक विवाहित पुरुषलाई ‘अविवाहित’ भएको सिफारिस दिएको खुलेको छ ।

उक्त पुरुषकी श्रीमतीले सम्बन्धित व्यक्ति विवाहित रहेको उल्लेख गर्दै वडा कार्यालयमा सिफारिस नदिन लिखित निवेदन दिएकी थिइन् । तर, सो निवेदनलाई बेवास्ता गर्दै वडा कार्यालयबाट अविवाहित भएको सिफारिस जारी गरिएको प्रहरीको भनाइ छ ।

पीडित पक्षको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनासँग सम्बन्धित सिफारिस कागजात र निवेदनलगायत प्रमाणहरू वडा कार्यालयबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

बाल अधिकार परिषद् खारेज निर्णय फिर्ता लिन सांसद इन्दिरा रानाको माग

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अघिल्लो सरकारले गरेको भनिएको उक्त निर्णयप्रति पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

सांसद रानामगरले बालबालिकाको हक, हित र संरक्षणका लागि कुनै वैकल्पिक व्यवस्था नगरी परिषद् खारेज गर्नु गम्भीर त्रुटि भएको टिप्पणी गरिन् ।

उनले बालबालिकाको संरक्षण राज्यको संवेदनशील जिम्मेवारी भएको भन्दै सरकारलाई यस विषयमा गम्भीर भएर आवश्यक कदम चाल्न आग्रह गरिन् ।

आइतबार बिदाले विद्यार्थीलाई बोझ बढाउने भन्दै सांसद शर्माको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सरकारले जारी गरेको निर्देशिकाअनुसार विद्यालयमा पाठ्य घण्टा र कार्य घण्टाबीच तालमेल नमिलेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले गरेको निर्णयले शिक्षण संस्थामा नकारात्मक असर परेको बताइन् ।

उनले भनिन्, ‘एक वर्षभरिको पाठ्यक्रम त्यसमाथि आइतबारको बिदाले विद्यार्थीको पढाइमा गुणात्मक सुधार हुन्छ कि हुँदैन ?’

सांसद शर्माले सरकारले पाठ्यक्रम परिमार्जन गरी संक्षेपीकरण नगरे आइतबारको बिदाले विद्यार्थीलाई थप बोझ पर्ने निश्चित रहेको दाबी गरिन् ।

उनका अनुसार सरकारले हिउँदे र बर्खे बिदामा १५ दिन कटौती गरे पनि बर्खायाममा विद्यार्थीहरू भेल र पहिरोको जोखिममा पर्ने भएकाले आइतबारको बिदा पुनर्विचार गर्नुपर्ने आवश्यकता छ ।

उनले सरकारलाई नीति कार्यान्वयनअघि व्यवहारिक पक्षको मूल्यांकन गर्न पनि आग्रह गरेकी छन् ।

बालेनको ठाउँमा बाँदरलाई प्रधानमन्त्री बनाऔँ भनेपछि(भिडियो)

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बाँदर व्यवस्थापनका लागि छुट्टै कानुन बनाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाँदरको समस्या नियन्त्रण र व्यवस्थापनका लागि सरकारले स्पष्ट नीति तथा कानुनी व्यवस्था ल्याउनुपर्ने धारणा राखे।

राईले बाँदरको विषयलाई लिएर व्यंग्यात्मक शैलीमा प्रधानमन्त्रीसँग समेत तुलना गर्दै अहिले देशमा बाँदर व्यवस्थापनको बहस आवश्यक भएको बताए। उनले यस विषयमा विधेयक ल्याएर कानुनी रूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

उनले आफ्नो तलबको आधा कटौती भएको उल्लेख गर्दै सरकारले पनि आफ्नो खर्च कटौती गरेर जनताको हितमा लगानी गर्नुपर्ने बताए। आफू सम्पूर्ण तलब त्याग्नसमेत तयार रहेको उल्लेख गर्दै त्यसको प्रत्यक्ष लाभ जनताले पाउनुपर्ने उनको भनाइ थियो।

सांसद राईले किसान तथा सर्वसाधारणको दुःखप्रति सरकार संवेदनशील हुनुपर्ने बताए। पशु अधिकारको विषय उठाउँदै उनले गाईजस्ता जनावरको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले जैन धर्म मान्ने व्यक्तिहरूको सम्मान गर्नुपर्ने भए पनि जनतालाई दुःख दिने गतिविधि स्वीकार्य नहुने बताए। धानबाली नष्ट हुने समस्या र वन क्षेत्रमा भइरहेका गतिविधिप्रति पनि उनले असन्तुष्टि जनाए।

राईले वन संरक्षणसँगै वन जोगाउन खटिएका मानिसहरूको सुरक्षामा पनि राज्यले ध्यान दिनुपर्ने बताएका छन्।

‘एलिफेन्ट्स इन द फग’ : ‘कान्समा अहिलेसम्म मैले देखेको सबैभन्दा उत्कृष्ट दृश्य’

काठमाडौं। अविनाश विक्रम शाह निर्देशित नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ बुधबार विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको छ ।

प्रिमियरअघि निर्देशक शाहसहित फिल्मका मुख्य कलाकारहरू पुष्प थिङ लामा, सहद दिन मिया, जस्मिन विश्वकर्मा, अलिज घिमिरे र चयन अधिकारीलगायतले कान्सको रेड कार्पेटमा सहभागिता जनाएका थिए ।

प्रिमियरपछि फिल्मले दर्शक तथा अन्तर्राष्ट्रिय फिल्मकर्मीहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ । हलभित्र फिल्म सकिएपछि लामो समयसम्म ताली बजाएर दर्शकले सम्मान व्यक्त गरेका थिए ।

प्रसिद्ध बलिउड निर्देशक तथा अभिनेता अनुराग कश्यपले लेटरबक्स्ड मार्फत फिल्मको खुलेर प्रशंसा गरेका छन् । उनले ‘एलिफेन्ट्स इन द फग’लाई हालसम्म कान्समा देखिएका उत्कृष्ट फिल्ममध्ये एक भन्दै नेपाली सिनेमाको ठूलो फड्को भएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘कान्समा अहिलेसम्म मैले देखेको सबैभन्दा उत्कृष्ट अन्तिम दृश्य यही हो । ‘एलिफेन्ट्स इन द फग’ मार्फत नेपाली फिल्मले ठूलो फड्को मारेको छ ।’

अनुरागले यसअघि आएका नेपाली फिल्महरू,दीपक रौनियारका ‘ह्वाइट सन’ र ‘पूजा, सर’, तथा मीन बहादुर भामका ‘कालो पोथी’ र ‘शाम्बाला’पछि अविनाश विक्रम शाहले आफूलाई उत्कृष्ट निर्देशकका रूपमा प्रस्तुत गरेको पनि उल्लेख गरेका छन् ।

उनले फिल्मकी मुख्य अभिनेत्री पुष्पा थिङको अभिनयको विशेष प्रशंसा गर्दै उनलाई शक्तिशाली कलाकारको रूपमा प्रस्तुत भएको बताएका छन् ।

फिल्मको विषयवस्तु र प्रस्तुतिकरणबारे अन्तर्राष्ट्रिय मिडियाहरूले पनि समीक्षा गरेका छन् । प्रतिष्ठित म्यागजिन भेराइटीले फिल्मलाई ट्रान्सजेन्डर समुदायमाथि आधारित संवेदनशील र भावनात्मक कथा भन्दै उल्लेख गरेको छ ।

कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा चयन भएको यो फिल्म ट्रान्सजेन्डर शरणार्थीहरूको कथामा आधारित रहेको बताइएको छ । ट्रेलरमा एक आमाले जंगलमा हराएकी छोरी खोज्ने संघर्ष र त्यस क्रममा आउने चुनौतीलाई प्रस्तुत गरिएको छ ।

फिल्मले २०८१ सालमा नर्वेजियन सरफन्ड ग्रान्टमार्फत ६ लाख नर्वेजियन क्रोनर (झन्डै ७६ लाख रुपैयाँ) प्राप्त गरेको थियो ।

गोपी हमाल आक्रमणमा परेपछि सीमा विवाद तत्काल समाधान गर्न केपी खनालको माग (भिडियो)

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा पर्ने रानीसैन क्षेत्रको विवाद तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालसहितको टोलीमाथि भएको दुव्र्यवहारप्रति सरकारको ध्यानाकर्षण गराए।

खनालले साइपाल हिमालको पूर्वी बेसक्याम्प रहेको उक्त क्षेत्र जडीबुटी र वन्यजन्तुको अपार सम्भावना बोकेको ठाउँ भएको बताए। उनले वर्षौंदेखि त्यहाँ जडीबुटी र वन्यजन्तुको अवैध तस्करी भइरहेको सूचना प्राप्त भएको उल्लेख गरे।

उनका अनुसार त्यस क्षेत्रमा प्रहरी चौकी स्थापना हुने र पर्यटकको चहलपहल बढ्ने अवस्था आएपछि अवैध गतिविधिमा संलग्न समूहहरू त्रसित बनेका छन्। चौकी स्थापनाका लागि पहल गर्ने वडा सदस्यसहितका व्यक्तिलाई अराजक समूहले कुटपिट तथा बन्धक बनाएको जानकारी आफूले पाएको उनले बताए।

स्थानीय तहको प्रवर्द्धन तथा पर्यटन विकासका लागि खटिएका जनप्रतिनिधिमाथि यस्तो व्यवहार हुनु चिन्ताजनक रहेको खनालको भनाइ थियो।

उनले गृह मन्त्रालय, भूमिसुधार मन्त्रालय, प्रहरी प्रशासन तथा सम्बन्धित निकायलाई रानीसैन क्षेत्रको सीमा विवाद तत्काल समाधान गर्न आग्रह गरे। साथै प्रत्येक नागरिकको सुरक्षा र स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

आकस्मिक समयमा सभामुखले बोल्न नदिएपछि…

काठमाडौं । आकस्मिक समयमा केही सांसदलाई बोल्ने समय नदिइएको भन्दै विरोध भएपछि प्रतिनिधिसभा बैठक केहीबेर प्रभावित बनेको छ ।

बिहीबारको बैठकमा सभामुख डीपी अर्यालले केही सांसदलाई बोल्ने समय दिए पनि अन्य केही सांसदलाई अवसर नदिएको भन्दै असन्तुष्टि जनाइएको थियो ।

समय नपाएका सांसदहरू उठेर विरोध जनाएपछि बैठकमा केहीबेर अवरोधको अवस्था सिर्जना भएको थियो ।

त्यसपछि सभामुख अर्यालले सांसदहरू राजेन्द्र राई, इन्दिरा राना र बलावती शर्मालगायतलाई बोल्न समय निर्धारण गरेका थिए ।

सभामुखले समय व्यवस्थापनका आधारमा बोल्ने अवसर दिइएको बताए पनि केही सांसदहरूले समान अवसरको माग गर्दै आपत्ति जनाएका थिए ।

राईले अर्याललाई रास्वपाको ‘निलो स्कार्फ’ सहितको अवरोध सम्झाएपछि(भिडियो)

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले सरकारलाई संख्याको दम्भ नदेखाउन चेतावनी दिएका हुन्।

राईले सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोज्दा सभामुख र सरकार दुवैबाट अपेक्षित सहयोग नपाएको गुनासो गरे। उनले पछिल्ला केही बैठकदेखि प्रतिपक्षी दलले सरकारको जवाफदेहिता माग गर्दै सदनमा प्लेकार्ड प्रदर्शन गरिरहेको उल्लेख गर्दै त्यसलाई अमर्यादित भनिएकोप्रति आपत्ति जनाए।

उनले अहिले सत्तामा रहेको दल विगतमा प्रतिपक्षमा हुँदा नीलो स्कार्फ बाँधेर वेल घेराउ गर्ने, वेलमा पुगेर पलेँटी कसेर बस्ने र पुस्तक पढ्ने जस्ता गतिविधि गरेको स्मरण गराए। त्यतिबेला ती गतिविधिलाई संसदीय मर्यादाविपरीत नभनिएको तर अहिले प्रतिपक्षले प्लेकार्ड देखाउँदा अमर्यादित भनिएकोप्रति उनले प्रश्न उठाए।

राईले विगतका ती गतिविधि पनि गलत रहेको र अहिले भइरहेका गतिविधि पनि संसदीय मर्यादाअनुकूल नभएको कांग्रेसको निष्कर्ष रहेको बताए।

कानुन निर्माणमा नागरिक सहभागिता बढाउन ‘डिजिटल प्लेटफर्म’

काठमाडौं । कानुन निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढाउने उद्देश्यले सरकारले डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ ।

गत वैशाख २७ गते कानुन दिवसको अवसरमा घोषणा गरिएको उक्त प्लेटफर्ममार्फत नागरिकले ऐन तथा विधेयकका मस्यौदामाथि आफ्ना सुझाव, टिप्पणी तथा असहमति सिधै पठाउन सक्ने व्यवस्था गरिएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन निर्माण प्रक्रियामा नागरिकलाई प्रत्यक्ष रूपमा सहभागी गराउने उद्देश्यले प्लेटफर्म सञ्चालनमा ल्याइएको बताइन् ।

उनले कानुन नागरिककै लागि बन्ने भए पनि निर्माण प्रक्रियामा जनसहभागिता पर्याप्त नरहेको उल्लेख गर्दै यस पहलले कानुनी सचेतना विस्तार गर्नुका साथै नागरिक सहभागिता सुनिश्चित गर्ने विश्वास व्यक्त गरिन् ।

मन्त्रालयका अनुसार कानुन मन्त्रालयको आधिकारिक वेबसाइटमा गएर सम्बन्धित ट्याबमा क्लिक गरी नागरिकले कुनै पनि विधेयक वा कानुनका दफामा संशोधन प्रस्ताव वा सुझाव दिन सक्नेछन् ।

साथै, सुझाव दिन प्रयोग गरिएको भाषा कानुनी शैलीमा नभए पनि मन्त्रालयले त्यसलाई आवश्यक कानुनी भाषामा रूपान्तरण गर्ने जनाएको छ ।

यद्यपि सुझाव पेश गर्नुअघि सम्बन्धित कानुन वा विधेयक अध्ययन गर्नुपर्ने सर्त राखिएको मन्त्रालयले जनाएको छ ।

पत्रकारलाई धम्की दिने डाक्टर पक्राउ

काठमाडौं । पत्रकारलाई धम्की दिएको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका-१० स्थित स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार बख्तियार अलीलाई समाचार लेखेको विषयलाई लिएर पटक-पटक धम्की दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

पत्रकार अलीले गत फागुन ५ गते स्तुती सौम्य हेल्थ केयरमा उपचारका क्रममा विष्णु गाउँपालिका-६ निवासी ३ महिनाका अभि बैठाको मृत्यु भएको घटनासम्बन्धी समाचार तयार गरेका थिए ।

समाचार सार्वजनिक भएपछि डा. झाले उक्त समाचार हटाउन दबाब दिएको, फोन तथा सामाजिक सञ्जालमार्फत गालीगलौज र धम्की दिएको आरोप लगाइएको छ ।

दबाब र धम्की बढेपछि पत्रकार अलीले नेपाल पत्रकार महासंघलाई जानकारी गराएका थिए । त्यसपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखा र मधेश प्रदेश समितिले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

महासंघले कुनै समाचारप्रति असहमति भए कानुनी प्रक्रिया अपनाउन सकिने भए पनि पत्रकारलाई धम्की दिने र दबाब सिर्जना गर्ने कार्य प्रेस स्वतन्त्रताविरुद्ध भएको उल्लेख गरेको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

बाँदर आतंक नियन्त्रणबारे बालेन सरकारले जवाफ नदिए संसद चल्न गाह्रो हुन्छ : राई(भिडियाे)

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले बाँदर आतंक नियन्त्रणबारे सरकार गम्भीर नभएको भन्दै एक साताभित्र ठोस जवाफ मागेका छन् । जवाफ नआए संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बिहीबार बोल्दै उनले देशका विभिन्न क्षेत्रमा बाँदरको आतंकले जनजीवन कष्टकर बनेको बताए । धनकुटा नगरपालिका–९ की सुनिता राईले बिहीबार बिहान आफूलाई फोन गरेर बाँदरले बच्चाको लुगासमेत लगिदिएको गुनासो गरेको प्रसंग सुनाउँदै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘बाँदरले भात खान पनि दिँदैन, बच्चाको लुगा पनि लगिदियो, अब के गर्ने भनेर उहाँले मलाई प्रश्न गर्नुभयो,’ सांसद राईले भने, ‘मैले यसको जवाफ कसरी दिने ?’

उनले बाँदर आतंकका कारण किसानले दुःख गरेर लगाएको अन्नबाली जोगाउन नसकेको, मानिसहरू ढुक्कले खाना खान नपाएको र गाउँबस्तीमा त्रास बढेको बताए ।

सरकारले विकासका ठूला योजना अघि सारे पनि जनताको दैनिक जीवनसँग जोडिएको समस्या समाधानमा बेवास्ता गरेको भन्दै उनले असन्तुष्टि जनाए । ‘यदि कुनै मानिसले बदमासी गर्‍यो भने प्रहरीले तुरुन्त नियन्त्रणमा लिन्छ । तर बाँदरले सयौं मानिसको दैनिकी प्रभावित बनाउँदा सरकार मौन छ,’ उनले भने ।

सांसद राईले बाँदर नियन्त्रण तथा व्यवस्थापनका लागि तत्काल प्रभावकारी योजना ल्याउन सरकारसँग माग गरे ।

साथै सात दिनभित्र सरकारले स्पष्ट जवाफ र समाधानको पहल नगरे सदनमै ठूलो बहस हुने चेतावनी दिए ।

‘अब सात दिनभित्र बाँदर समस्याको समाधानबारे सरकारले जवाफ दिएन भने सदन चल्न गाह्रो हुन्छ,’ उनले भने, ‘कानुनी वा प्रशासनिक जुनसुकै माध्यमबाट भए पनि सरकारले यो समस्या नियन्त्रण गर्नुपर्छ ।’

बालेनमाथि बम्किए हर्क भने – ‘कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर्दा राम्रो’

काठमाडौं । श्रम संस्कृति पार्टीका नेता तथा सांसद हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै समय माग्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ (२) अनुसार सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने व्यवस्था रहेको स्मरण गराए ।

उनले प्रश्न गर्दै भने,‘प्रधानमन्त्रीज्यू सदनमा आएर सांसदहरूले उठानुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन ?’

साम्पाङले आफूले वैशाख २८ र २९ गते गृह मन्त्रालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न उठाएको उल्लेख गरे । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीसँगै रहेको भन्दै ती प्रश्नको जवाफ प्रधानमन्त्री आफैँले दिनुपर्ने उनको माग थियो ।

उनले भने, ‘ती प्रश्नको उत्तर प्रधानमन्त्रीले आएर दिनुपर्छ ।’

प्रधानमन्त्री संसद्को सदस्य भएको स्मरण गराउँदै उनले संसद्को गरिमा जोगाउने दायित्व सबैमा बराबर हुने बताए ।

उनले भने, ‘उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन ? यो देशमा पार्लियामेन्ट छ कि छैन ? सबै जनाले लोकतन्त्र र संसद्को गरिमा जोगाइराख्नुपर्छ कि पर्दैन ?’

साम्पाङले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी पूरा गर्न नसके मार्ग प्रशस्त गर्नुपर्ने टिप्पणी पनि गरे ।

उनले भने, ‘यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दा राम्रो ।’

प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभए कसप्रति जवाफदेही हुने भन्ने प्रश्नसमेत उनले उठाएका छन् ।

काङ्ग्रेसले उठायो सभामुख कै भूमिकामाथि प्रश्न, हर्कबारे यस्तो धारणा ?

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निस्कल राईले सभामुख डीपी अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोज्दा सभामुखबाट निष्पक्ष भूमिका नदेखिएको टिप्पणी गरे ।

उनले भने, ‘पछिल्ला केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोजिरहेको छ । तर, यसमा सभामुखको साथ मिलेन ।’

सांसद राईले श्रम संस्कृति पार्टीले केही दिनदेखि संसदमा प्लेकार्ड देखाएर सरकारको ध्यानाकर्षण गराउँदै आएको प्रसंग उल्लेख गर्दै त्यसलाई अमर्यादित व्यवहार भनिएकोमा आपत्ति जनाए ।

उनले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसदमा निलो स्कार्फ बाँधेर विरोध जनाएको प्रसंग स्मरण गराउँदै सभामुखसँग प्रश्न गरे ।

उनले भने, ‘आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्षीको प्लेकार्ड कसरी अमर्यादित ?’

राईले विगत र वर्तमान दुवै गतिविधिलाई मर्यादाविपरीत मान्नुपर्ने धारणा राख्दै संसदको गरिमा जोगाउने जिम्मेवारी सभामुखकै हुने बताए ।

उनका अनुसार संसदमा सबै दललाई समान व्यवहार हुनुपर्ने र सभामुखले निष्पक्ष ढंगले बैठक सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ ।

हर्कले आज पनि गरे प्लेकार्ड देखाएर विरोध

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ)ले प्रतिनिधिसभा बैठकमा आज पनि प्लेकार्ड देखाएर विरोध जनाएका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै उनी आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन् ।

राईले जेठ ४ गतेदेखि निरन्तर रूपमा संसद् बैठकमा प्लेकार्ड प्रदर्शन गर्दै आएका छन् । आजको बैठकमा पनि उनले सोही शैलीलाई निरन्तरता दिएका हुन् ।

सदनमा लगातार भइरहेको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई आफ्नो धारणा राख्न समय दिएका छन् ।

हर्क साम्पाङले पछिल्ला दिनहरूमा सरकार संसद्प्रति जिम्मेवार नभएको, मन्त्रीहरूले सांसदले उठाएका प्रश्नको जवाफ नदिएको तथा जनसरोकारका विषयमा सरकार गम्भीर नभएको भन्दै विरोध जनाउँदै आएका छन् ।

सिंहदरबारभित्रको सार्वजनिक शौचालयको अवस्था दयनीय [तस्वीरहरू]

काठमाडौं। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरको सार्वजनिक शौचालयको अवस्था नाजुक रहेको छ ।

शौचालय हेर्दा सफा देखिए  पनि, शौचालय प्रयोग गरेर फ्ल्यास गर्न पानीको व्यवस्था समेत नहुँदा आगन्तुकहरुले सास्ती समेत भोग्नु परेको छ ।

ढोकाको चुकुल नलाग्नु, पानीको व्यवस्था नहुनाले शौचालय फोहर भई प्रयोग गर्न समेत नहुने अवस्थामा रहेको छ ।
सरकारले सरसफाइलाई प्राथमिकता दिए पनि सिंहदरबार परिसर कै शौचालयको यस्तो अवस्था रहनाले सरोकारवाला निकायले समयमै ध्यान पुर्याउन आवश्यक देखिन्छ।
तस्वीरहरू :

स्मार्ट टेलिकमकाे ३० अर्ब घाेटाला प्रकरण : छाडिएलान् सर्वेश जोशी ?

काठमाडौं । स्मार्ट टेलिकमकाे ३० अर्ब घाेटाला प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जाेशीकाे रिहाइ माग्दै दायर बन्दीप्रत्यक्षीकरण रिटकाे सुनुवाइ हुँदैछ ।

न्यायाधीशहरू हरिप्रसाद फुयाल र बालकृष्ण ढकालकाे संयुक्त इजलासमा रिटकाे सुनुवाइका लागि पेशी ताेकिएकाे छ ।

जाेशीकी श्रीमती लुभाना श्रेष्ठले गैरकानुनी रूपमा जाेशीलाई पक्राउ गरिएको भन्दै रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी हुन् ।

उनले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाएकी छन् । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जाेशी गत २२ वैशाखमा पक्राउ गरेका थिए ।

उक्त टेलिकमकाे ३० अर्ब घाेटाला प्रकरणमा तत्कालीन सञ्चारमन्त्री रहेका हालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेल मुछिएका छन् ।

तर, उनले आफू कहीँ कतै घाेटालामा संलग्न नरहेकाे भन्दै आफ्नाे नाम जाेड्न आवश्यक नभएको बताएका छन् ।

प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्ने सभामुखले नियम घोकाउनु निन्दाजनक : हर्क साम्पाङ

काठमाडौं । प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाह (बालेन) र अर्थमन्त्री स्वर्णिम वाग्लेलाई संसदप्रति उत्तरदायी बनाउन निरन्तर आवाज उठाउने श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले बताएका छन् ।

उनले सदनमा उपस्थित नभएर प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभा नियमावलीको १५ (२)को बर्खिलाप गरेको र जवाफ नदिएर संसद् विधिसम्मत नचलिरहेको बताए ।

बारम्बार प्रश्न गर्दा बुधबार दुई जना मन्त्रीले जवाफ दिएको तर त्यो पनि सतही भएको उनको टिप्पणी छ ।

बिहीबार बिहान विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले सभामुख डोलप्रसाद अर्यालप्रति आक्रोश पोखेका छन् । उनले बुधबार तीनपटक सभामुख अर्यालले रुलिङ गरेको तर्फ सङ्केत गर्दै भने, ‘म लगायत श्रम संस्कृति पार्टीका केही सांसदहरूले प्रश्न सोध्न खोज्दा सभामुखले प्रश्न सोध्न मिल्दैन भनेर भन्नु आपत्तिजनक घटना हो ।’

साम्पाङले सदन जनताका प्रश्नहरू सोध्ने, प्रश्नोत्तर गर्ने र जनहितमा काम गर्ने ठाउँ भए पनि २०८३–२–२८ र २९ गते राखेको प्रश्नको उत्तर नदिएको भन्दै गुनासो गरेका छन् ।

यहाँ साम्पाङले मिति गल्ती लेखेका छन् । उनले भन्न खोजेको वैशाखको २८ र २९ हो तर जेठको २८ र २९ गते लेखेका छन् । जबकि आज जेठको ७ गते हो ।

अध्यक्ष साम्पाङले बालेन सरकारको जवाफ नदिने प्रवृत्तिको भत्सर्ना गर्दै यसलाई संसदीय अभ्यासको इतिहासमा कालोधब्बाको रूपमा लिएको बताएका छन् ।

उनले सभामुखको भूमिकाप्रति पनि प्रश्न गरेका छन् । प्रधानमन्त्री बालेनलाई सदनमा ल्याउन नसक्ने सभामुखले विपक्षी दलका नेतालाई बारम्बार प्रतिनिधि सभा नियमावलीको नियम घोकाइरहन निन्दाजनक र हास्यास्पद भएको टिप्पणी गरे ।

उनले नियम भन्दा नियत ठूलो हुने भन्दै त्यो नियत जनताको पक्षमा र लोकतन्त्रको पक्षमा हुनुपर्ने बताए ।

 

हुम्ली र बाजुरेलीबीच कसरी चर्कियो सीमा विवाद ?

काठमाडौं । सुदूरपश्चिमको बाजुरा र कर्णालीको हुम्लाबीचको सीमा विवाद हालै हिंसात्मक बन्यो । रानीसैन-लाम्पाटा-च्याचौर क्षेत्रलाई लिएर सुरु भएको विवादले दुई जिल्लाका स्थानीयबीच टकराव उत्पन्न गर्‍यो ।

अस्थायी प्रहरी चौकी निर्माणको विषयले आगोमा घिउ थपेपछि उत्पन्न विवाद कुटपिट, घर कब्जा र सरकारी टोली फिर्ता हुनुपर्ने अवस्थासम्म पुगेको छ ।

यो विवाद अचानक भएको होइन । यसको जरा वर्षौंदेखि सीमांकनको अस्पष्टता र प्राकृतिक स्रोतको उपयोगसँग जोडिएको छ।

कहाँ हो विवादित क्षेत्र ?

विवादको केन्द्रमा रहेको रानीसैन-लाम्पाटा क्षेत्र बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खार्पुनाथ तथा सर्केगाड गाउँपालिकाको सीमाक्षेत्रमा पर्छ । यो क्षेत्र अत्यन्त दुर्गम छ । त्यहाँ सडक छैन, सञ्चार सेवा कमजोर छ र प्रशासनिक उपस्थिति पनि न्यून छ ।

यही कारण राज्यको औपचारिक उपस्थिति कमजोर हुँदा स्थानीय प्रभावशाली समूहहरूले वर्षौंदेखि प्राकृतिक स्रोतमा अनौपचारिक नियन्त्रण जमाउँदै आएका छन् ।

रानीसैन क्षेत्र साइपाल हिमालको पूर्वी आधार शिविर मानिन्छ । पर्यटनका हिसाबले सम्भावना बोकेको यो क्षेत्र बहुमूल्य जडीबुटी, यार्सागुम्बा, वन्यजन्तु र वन स्रोतका कारण पनि रणनीतिक महत्वको मानिन्छ । यही स्रोतको पहुँच र नियन्त्रण नै अहिलेको विवादको मूल कारण बनेको स्थानीयहरूको बुझाइ छ ।

विवाद कसरी सुरु भयो ?

बाजुराको हिमाली गाउँपालिकाले लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्न प्रक्रिया अघि बढाएपछि विवाद सतहमा आएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले चौकी निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरेपछि स्थानीय उपभोक्ता समितिले जग्गा सम्याउने र जग हाल्ने काम सुरु गरेको थियो ।

तर, हुम्लाको खार्पुनाथ गाउँपालिकाका स्थानीयले उक्त क्षेत्र आफ्नो भूभाग भएको दाबी गरे । उनीहरूले ‘हुम्लाको जमिनमा बाजुराले प्रहरीको अस्थायी पोस्ट बनाउन खोजेको’ भन्दै निर्माण कार्यमा अवरोध गरे ।

केही दिनअघि निर्माण सामग्री फालिएको, काम रोकिएको र चौकीका लागि जग्गा दिएका बाजुराका स्थानीयमाथि हातपात भएको आरोप पनि लागेको छ ।

विवाद यहीं रोकिएन । बाजुराको हिमाली गाउँपालिकाको टोली पर्यटन प्रवर्द्धन कार्यक्रमका लागि रानीसैन जाँदै गर्दा हुम्लाका विभिन्न गाउँबाट पुगेको ठूलो समूहले आक्रमण गर्‍यो ।

आक्रमणबाट वडासदस्यसमेत रहेका हिमाली- ३, लाम्पाटाका पेमा गाराप गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, सोही वडाको गुम्बा गाउँका नरबहादुर गुरुङ र मीनु कुँवर घाइते भए ।उनहरुलाई उद्धार गरेर उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी इकवाल हवारिसले बताए ।

स्थानीयको कुटपिटबाट हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा र प्रहरी सहायक हवल्दार महेश धामी पनि घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हुम्लाको दाबी के छ ?

हुम्लाको खार्पुनाथ गाउँपालिकाले लाम्पाटा क्षेत्र आफ्नो प्रशासनिक सीमाभित्र पर्ने दाबी गरेको छ । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलका अनुसार आफूहरूसँग कुनै समन्वय नगरी प्रहरी चौकी निर्माण गर्न खोजिएकाले विरोध गरिएको हो ।

हुम्ला पक्षको तर्क छ, विवादित क्षेत्रमा एकपक्षीय रूपमा प्रहरी चौकी स्थापना गर्नु भनेको प्रशासनिक अतिक्रमण हो । उनीहरूका अनुसार सीमांकन स्पष्ट नभएसम्म कुनै पनि संरचना निर्माण गर्न नहुने हो ।

त्यसैले उनीहरूले रानीसैनतर्फ गइरहेका बाहिरी टोलीलाई पनि रोक्ने निर्णय गरेको बताएका छन् । धनगढी उपमहानगरपालिकाको टोलीलाई समेत फर्काइनु त्यसैको निरन्तरता हो ।

बाजुराको आरोप के छ ?

बाजुरा पक्षले भने सीमा विवादलाई ‘कृत्रिम रूपमा उचालिएको विषय’ भनेको छ । स्थानीय जनप्रतिनिधि र प्रदेश सांसदहरूको दाबी अनुसार वास्तविक सीमा लाम्पाटाभन्दा धेरै पर साकालाग्ना क्षेत्रमा पर्छ ।

त्यसैले लाम्पाटा-रानीसैन क्षेत्र बाजुराकै भूभाग भएको उनीहरूको जिकिर छ ।

बाजुरा पक्षको मुख्य आरोप भनेको प्राकृतिक स्रोतको नियन्त्रणसँग जोडिएको छ । उनीहरूका अनुसार रानीसैन-लाम्पाटा क्षेत्र जडीबुटी, वन्यजन्तु र बहुमूल्य वन स्रोतले भरिएको क्षेत्र भएकाले केही व्यापारी र स्थानीय प्रभावशाली समूहले वर्षौंदेखि त्यहाँ अनौपचारिक नियन्त्रण कायम राखेका छन् ।

प्रहरी चौकी स्थापना भएपछि त्यस्ता गतिविधिमा रोक लाग्ने भएकाले विवाद उचालिएको बाजुराका नेताहरूको दाबी छ । उनीहरूले यसलाई ‘सीमा विवादभन्दा बढी स्रोत नियन्त्रणको संघर्ष’ का रूपमा व्याख्या गरेका छन् ।

यो घटनाले दुर्गम सीमाक्षेत्रमा राज्यको उपस्थिति कति कमजोर छ भन्ने पनि देखाएको छ । विवादित क्षेत्रमा न त स्पष्ट सीमांकन छ, न स्थायी प्रशासनिक संयन्त्र । सञ्चार र यातायातको अभावका कारण सरकारी निकायको पहुँच सीमित छ ।

यही शून्यतामा स्थानीय समूहहरूले आ-आफ्नो दाबी बलियो बनाउँदै आएका छन् । जब प्रहरी चौकी स्थापना गर्ने प्रयास भयो, त्यो प्रत्यक्ष रूपमा ‘राज्यको उपस्थिति विस्तार’ का रूपमा बुझियो । त्यसले पुरानो असन्तोषलाई हिंसात्मक रूप दिएको देखिन्छ ।

बालेन सरकारविरुद्ध रास्वपाभित्रैबाट अमरेशले खोले ‘फायर’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को उनकै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले कडा शब्दमा आलोचना गरेका छन् ।

उनले बालेन सरकारलाई ‘तथाकथित सरकार’ भन्दै संसदप्रति अवमूल्यन नगर्न चेतावनी दिएका छन् ।

सांसद सिंह यतिमा मात्रै रोकिएनन् । उनले भने, ‘काठमाडौं महानगरको टिमले देश चलाउन खोजिरहेको छ, यो काठमाडौं महानगर होइन देश ।’

नेपाल-भारत सीमा क्षेत्रमा १०० रुपैयाँमाथिको सामान आयात गर्दा भन्सार शुल्क लगाएको सन्दर्भ जोड्दै उनी बालेन सरकारप्रति झनै आक्रोशित बने ।

‘यहाँको तथाकथित सरकारलाई भन्न चाहन्छु, कि बोर्डरमा जन्मेर थाहा हुन्छ कि बोर्डरको पीडा के हो ?’, उनले हिमालय टेलिभिजनको यज्ञ प्रश्न कार्यक्रममा भने ।

उनले बालेन सरकार निरङ्कुशताको बाटोमा हिँडेको भन्दै लोकतान्त्रिक पद्धतिअनुसार अघि बढ्न सुझाए । मंगलबार विनियोजन विधेयकमाथिको छलफलको क्रममा उनले बालेन सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका थिए ।

नयाँ र परम्परा भत्काउने नाममा संसदप्रति सरकारका जिम्मेवार अर्थमन्त्री उठेका प्रश्नहरूको जवाफ दिनबाट भाग्न नमिल्ने बताएका थिए ।

नेपाली कांग्रेस हुँदै स्वतन्त्र राजनीति गरेका सांसद सिंह गत २१ फागुनको निर्वाचनअघि रास्वपा प्रवेश गरेका थिए ।

सर्लाही–४ बाट निर्वाचित उनलाई बालेन सरकारको मन्त्रीको रूपमा हेरिएको थियो । तर, बजेट कम हुने उद्योग मन्त्रालय दिने भएपछि अस्वीकार गरे ।

भनिन्छ, प्रधानमन्त्री बालेन अमरेशलाई सत्ता राजनीतिबाट किनाराकृत बनाउन खोजिरहेका छन् । यस्तोमा अमरेशले बालेन सरकारविरुद्ध आक्रोश ओकलेका हुन् ।

यसलाई कतिपयले रास्वपाभित्रैबाट बालेन सरकारमाथि खोलिएको पहिलो तर अर्थपूर्ण ‘फायर’ हो ।

बालेन सरकार केटाकेटी आए, गुलेली चलाए, मट्याङ्ग्राको नास भने जस्तो नहोस् : नेता आङ्देम्बे 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डाेलप्रसाद अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

संसद बैठक सञ्‍चालनको क्रममा तटस्थता, निष्पक्षता र संसदीय मर्यादाको आधारभूत मान्यता कमजोर पारिएको भन्दै सभामुख अर्यालकाे भूमिका खेदजनक भएकाे बताए । उनले सभामुखकाे अभिव्यक्तिकाे पनि विराेध गरेका छन् ।

‘संसद भनेको प्रतिपक्षको हो। सभामुख भनेको संसदलाई व्यवस्थित गर्ने संवैधानिक संस्था हो। तर आज जसरी प्रतिपक्षले आफ्ना धारणा राखिरहेका छन्, त्यसप्रति सभामुखबाट व्यक्त भएका अभिव्यक्तिहरू संसदीय जस्तो लागिरहेकाे छैन, त्यति कर्णप्रिय सुनिरहेको छैन,’ उनले गृहजिल्ला पाँचथरकाे तुम्बेवामा आयाेजित अध्यक्ष कप फुटबल प्रतियाेगिताकाे समापन समाराेहमा बिहीबार भने ।

उनका अनुसार संसदमा प्रतिपक्षले उठाएका विषयलाई बालेन सरकारसम्म पुर्‍याउन सभामुख असफल हुँदा सदनभित्र प्रतिपक्षमा रहेका दलहरुकाे असन्तोष  बढिरहेकाे छ ।

उनले श्रम संस्कृति पार्टीले संसदमा पम्प्लेट देखाएर विराेध गर्दा सभामुख अर्यालले संसदीय मर्यादामा रहन चेतावनी दिएकाेप्रति आपत्ति जनाए । अहिले प्रतिपक्षले प्लेकार्डमार्फत असन्तुष्टि जनाउँदा त्यसलाई अमर्यादित भनिनु असंगत र खेदजनक भएकाे उनकाे भनाइ छ ।

‘हिजो प्रतिपक्षमा हुँदा तत्कालीन सांसद, वर्तमान सभामुख, उहाँहरु पनि वेलमा पुग्नुहुन्थ्यो, नीलो स्कार्फ लगाएर आन्दोलन गर्नुहुन्थ्यो, वेलमा बसेर किताब पढेकोजस्तो गरेर अवरोध गर्नुहुन्थ्यो। त्यतिबेला संख्या २१ थियो,’ उनले भने, ‘त्यसबेला उचित लागेकाे त्याे गतिविधि आज प्रतिपक्षले आफ्ना असन्तुष्टि प्लेकार्डमार्फत राख्दा अमर्यादित कसरी हुन्छ? यो अत्यन्तै खेदजनक र दुर्भाग्यपूर्ण हो ।’

आङ्देम्बेले सरकारको कार्यशैलीप्रति पनि व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। उनले भने, ‘दुई तिहाइको सरकार केटाकेटी आए, गुलेली चलाए, मट्याङ्ग्राको नास भने जस्तो नहोस्।’

उनले सरकारलाई सुरुदेखि नै प्रतिपक्षले शुभकामना दिएर सफलताको कामना गरेको स्मरण गराउँदै भने, ‘हामीले सुरुकै मितिबाट शुभकामना दिएको हो, सफलताको कामना हो। तर प्रतिपक्षले दिएका शुभकामना र राम्रो ध्येयबाट दिएका अभिव्यक्तिहरूले पनि सरकारलाई जिम्मेवार बनाउन सकेको छैन भन्ने महसुस भइरहेको छ।’

तमोर करिडोर : पहाडको बस्तीमा उज्यालो ल्याउने सडक

पूर्वी नेपालको हिमाली काखदेखि तराईको समथरसम्म फैलिएको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र जनजीवनको संघर्षलाई एउटै धागोमा गाँस्‍ने जीवनरेखा बनेर अघि बढिरहेको छ- तमोर करिडोर सडक। यो  ढुंगा, माटो, ग्राभेल र कालोपत्रेले बनेको सडक मात्रै होइन, यो त पूर्वी पहाडका हजारौं नागरिकको सपना, पीडा, आशा र सम्मानसँग जोडिएको उज्यालो यात्रा हो। त्यसैले त तमोर नदीको गर्जनसँगै काखैकाख अघि बढ्ने यो सडकले आज भूगोललाई मात्र जोडेको छैन, यसले वर्षौंदेखि राज्यको पहुँचबाट टाढा रहेका गाउँहरूको मन पनि जोडिरहेको छ।

धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्मकाे करिब ११० किलोमिटर सडकले आज विकासको नयाँ इतिहास कोर्दैछ। ८५ किलोमिटरभन्दा बढी सडक कालोपत्रे भइसकेको छ भने बाँकी खण्डमा निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। वर्षौंदेखि धुलो, हिलो, जोखिम र पीडाको पर्याय बनेको बाटो आज आशा र सम्भावनाको मार्गमा रूपान्तरण हुँदैछ। हिजो जहाँ बिरामी बोकेर घण्टौं पैदल हिँड्नुपर्ने बाध्यता थियो, आज त्यही बाटोमा एम्बुलेन्स गुड्न थालेको छ। जहाँ विद्यार्थीहरू घामपानीसँग संघर्ष गर्दै विद्यालय पुग्थे, आज त्यहाँ सहज यातायातको अनुभूति हुन थालेको छ। विकासको असली अर्थ त्यही हो, जब सडकसँगै नागरिकको जीवनस्तर पनि अघि बढ्न थाल्छ।

तमोर करिडोर सडक नेपालको रणनीतिक महत्त्व बोकेको राष्ट्रिय गौरवसँग जोडिएको मार्ग हो। यसले पूर्वी पहाडलाई प्रदेश राजधानी विराटनगरलाई जाेडेकाे छ । याेद्रुत मार्ग हाे, जसले गर्दा यसको महत्त्व दिनप्रतिदिन बढ्दो छ। यसले नेपाललाई छिमेकी मुलुक चीन र भारतसँग सडक सञ्‍जालमार्फत जोड्ने सम्भावना पनि बोकेको छ। व्यापार, पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यको दृष्टिले यो मार्ग पूर्वी नेपालको आर्थिक मेरुदण्ड बन्न सक्ने आधार बोकेको छ। कुनै समय दुर्गम भनेर चिनिएका बस्तीहरू आज सम्भावनाका केन्द्र बन्‍न थालेका छन्।

तर, विकासको यात्रामा अझै केही अधुरा पीडाहरू छन्। धनकुटा जिल्लामा पर्ने रगुवा खोला, बकुवा खोला, छरुवा खोलामा पक्की पुल निर्माणको काम पूर्ण हुन सकेको छैन। धनकुटा र पाँचथरको सीमामा पर्ने नावा खोला पक्की पुल अझै प्रतीक्षामै छ। लखुवा खोला र लोरीपा खोलामा पुल नहुँदा वर्षायाममा स्थानीय नागरिकले असाध्यै दुःख भोग्‍नुपरेको छ। स्थानीयकाे एउटै प्रश्‍न छ- हामीले सुरक्षित यात्रा गर्ने दिन आखिर कहिले आउँछ ?

जब वर्षा लाग्छ, तमोर नदीको गर्जनसँगै खोलाहरू उर्लिन्छन्। सडक अवरुद्ध हुन्छ, यात्रुहरू बीच बाटोमै रोकिन्छन्, बिरामीहरू अस्पताल पुग्‍न सक्दैनन्, किसानका उत्पादन बजारसम्म पुग्‍न पाउँदैनन्। विकासको मूल उद्देश्य नागरिकलाई सहजता दिनु हो भने अब यी पुलहरू निर्माण गर्नु केवल पूर्वाधारको काम होइन, यो त जनताको जीवनसँग जोडिएको अत्यावश्यक दायित्व हो। सडकले गति दिएको छ, अब पुलहरूले सुरक्षा र स्थायित्व दिनुपर्छ।

पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिका र कुमायक गाउँपालिकाजस्ता विकट भूभागहरू कुनै समय राज्यको पहुँचभन्दा निकै टाढा थिए। सडक नहुँदा त्यहाँका युवाहरू अवसरको खोजीमा गाउँ छोड्न बाध्य थिए। खस-आर्य, आदिवासी जनजाति, दलितलगायत विभिन्‍न समुदायका मानिसहरू आफ्नै जन्मभूमिबाट विस्थापितजस्तै बनेका थिए। शिक्षा, स्वास्थ्य, रोजगार र बजारको अभावले गाउँहरू सुनसान बन्दै गएका थिए। घरमा ताला लाग्थे, खेतबारी बाँझिन्थे, वृद्धबृद्धाहरू एक्लै जीवन बिताउन बाध्य हुन्थे। तर, आज परिस्थिति विस्तारै बदलिन थालेको छ। तमोर करिडोर सडकले ती गाउँहरूमा नयाँ आशा जगाएकाे छ । सडक पुगेपछि गाउँ फर्किनेहरूको संख्या बढ्दै गएको छ। युवाहरूले कृषि, पशुपालन, पर्यटन र साना व्यवसायतर्फ नयाँ सपना देख्‍न थालेका छन्। हिजो बसाइँसराइको पीडाले रित्तिएका बस्तीहरूमा आज फेरि चहलपहल बढ्न थालेकाे आभास हुन थालेकाे छ । सडकले दूरी मात्रै घटाएको छैन, यसले गाउँको आत्मविश्‍वास पनि फर्काएको छ।

तमोर नदीको सुस्केरा सुन्दै, हरिया पहाडका काखैकाख यात्रा गर्दा जो कोहीको मन रोमाञ्‍चित हुन्छ। पाँचथरको तुम्बेवा र कुमायक गाउँपालिका प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र हुन्। त्यहाँका डाँडाकाँडा, स्वच्छ हावा, सांस्कृतिक विविधता र तमोर नदीको मनमोहक दृश्यले यात्रुलाई मोहित बनाउँछ। प्रकृतिप्रेमी र आन्तरिक पर्यटकहरूका लागि तमोर करिडोर सडक कुनै स्वर्गीय यात्राभन्दा कम छैन। नदीको आवाज, पहाडमाथि घामको पहिलो किरण र बाटोभरि देखिने सुन्दर दृश्यहरूले यो यात्रालाई अविस्मरणीय बनाइदिन्छ।

तमोर करिडोरले पूर्वी नेपालको धार्मिक पर्यटनलाई पनि नयाँ आयाम दिएको छ। ताप्लेजुङको प्रसिद्ध पाथिभारा मन्दिर जाने यात्रुहरूका लागि यो मार्ग अत्यन्त द्रुत मार्ग बनेकाे छ। यदि बाँकी पुलहरू निर्माण सम्पन्‍न भए भने हजारौं धार्मिक पर्यटकले सहज यात्रा गर्न सक्नेछन्। त्यसले स्थानीय होटल व्यवसाय, कृषि उत्पादन, हस्तकला र रोजगारमा प्रत्यक्ष प्रभाव पार्नेछ। पर्यटन केवल घुमघाम होइन, यो स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने शक्तिशाली माध्यम पनि हो।

आज तमोर करिडोर सडक पूर्वी नेपालको परिवर्तनको प्रतीक बनेको छ। यो सडकले राज्यलाई सम्झाइरहेको छ कि विकास शहरमा अग्ला भवन बनाउनु होइन, दुर्गम गाउँसम्म सम्मानपूर्वक बाँच्‍ने आधार पुर्‍याउनु पनि हो। विकास तब पूर्ण हुन्छ, जब विकट गाउँका नागरिकले पनि आफू राज्यबाट टाढा छैनन् भन्‍ने अनुभूति गर्न पाउँछन्। तमोर करिडोरको यात्रामा अझै धेरै काम बाँकी छन्। पुलहरू बन्‍न बाँकी छन्, केही सडक स्तरोन्‍नति हुन बाँकी छन्, सुरक्षित यात्रा सुनिश्‍चित गर्नुपर्ने आवश्यकता अझै छ। तर आजको उपलब्धि पनि कम गौरवपूर्ण छैन। वर्षौंदेखि ओझेलमा परेका भूगोलहरू आज राष्ट्रिय विकासको नक्सामा स्पष्ट देखिन थालेका छन्।

यो सडकले दिएकाे सन्देश हाे- यदि राज्यले चाह्यो भने दुर्गम भनिएका भूभागहरू पनि सम्भावनाका केन्द्र बन्‍न सक्छन्। तमोर नदीजस्तै निरन्तर बगिरहने विकासको यात्राले अब पूर्वी नेपालका गाउँहरूमा नयाँ उज्यालो ल्याउने विश्‍वास पलाएको छ। यसर्थ, तमोर करिडोर सडक एउटा मार्ग होइन, यो पूर्वी नेपालको मुटुको धड्कन हो। यो संघर्ष, सपना, पीडा, प्रेम, सम्भावना र सम्मानको संगम हो। यही सडकले हिजो टाढा पारिएका गाउँहरूलाई आज देशको विकाससँग जोडिरहेको छ। शायद यही कारणले, तमोर नदीको किनारै–किनार भएर यात्रा गर्ने जो कोहीले महसुस गर्छ । यो केवल सडक होइन, यो त भावनाको यात्रा हो।

औषधिको अभाव : क्यान्सरका हजारौँ बिरामी प्रभावित हुँदै

काठमाडौं। नेपालमा क्यान्सर उपचारका लागि अत्यावश्यक मानिने किमोथेरापी औषधि ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ को अभाव गहिरिँदै जाँदा देशको क्यान्सर उपचार प्रणाली नै संकटतर्फ धकेलिएको छ।

चिकित्सकहरूले यसलाई सामान्य औषधि अभाव नभई गम्भीर सार्वजनिक स्वास्थ्य संकटका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार समयमै उपचार नपाउँदा निको हुन सक्ने क्यान्सरका बिरामीसमेत ज्यान गुमाउने अवस्थामा पुग्न सक्छन्।

देशभरका प्रमुख क्यान्सर अस्पताल, सरकारी स्वास्थ्य संस्था तथा विशेषज्ञ चिकित्सकहरूले सार्वजनिक रूपमा समस्या उठाउन थालेपछि यो विषय राष्ट्रिय बहसको केन्द्रमा पुगेको हो। क्यान्सर उपचारमा प्रयोग हुने आधारभूत औषधि नै अभाव हुन थालेपछि दैनिक उपचार तालिका प्रभावित भएको, बिरामीको उपचार रोकिएको र चिकित्सकहरू विकल्पविहीन अवस्थामा पुगेको बताइएको छ।

क्यान्सर उपचारमा किमोथेरापीलाई मुख्य उपचार विधिमध्ये एक मानिन्छ। शरीरभित्र रहेका क्यान्सर कोष नष्ट गर्न, रोगको फैलावट रोक्न वा नियन्त्रणमा राख्न प्रयोग गरिने यो उपचारमा ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ जस्ता औषधिको महत्वपूर्ण भूमिका हुन्छ। फोक्सो, डिम्बाशय, पाठेघर, स्तन, टाउको-घाँटी, मूत्रथैलीलगायत धेरै प्रकारका क्यान्सरमा यी औषधि नियमित रूपमा प्रयोग गरिन्छ।

विशेषज्ञहरूका अनुसार यी औषधिलाई क्यान्सर उपचारको आधारभूत स्तम्भ मानिन्छ। त्यसैले यसको अभावले केही बिरामी मात्र होइन, समग्र उपचार प्रणाली प्रभावित हुने अवस्था सिर्जना भएको छ। क्यान्सर उपचारमा प्रत्येक दिन महत्वपूर्ण हुने भएकाले केही हप्ता मात्रै उपचार ढिला हुँदा पनि रोग फैलिने, अवस्था जटिल बन्ने र उपचारको प्रभाव घट्ने जोखिम रहने चिकित्सकहरूको भनाइ छ।

पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञहरूले पछिल्ला दुई सातादेखि औषधि अभावले उपचार सेवा प्रभावित हुन थालेको बताएका छन्। दैनिक रूपमा उपचार लिन आउने बिरामीको संख्या उच्च भए पनि आवश्यक औषधि पर्याप्त नभएकाले नियमित किमोथेरापी सेवा सञ्चालन गर्न कठिन भइरहेको जनाइएको छ।

पाटन अस्पतालमा उपचाररत करिब ४० प्रतिशत क्यान्सर बिरामी प्रत्यक्ष रूपमा प्रभावित भएको अनुमान गरिएको छ। नियमित तालिकाअनुसार प्रत्येक सातामा वा निश्चित अवधिमा किमोथेरापी लिनुपर्ने बिरामी औषधि नपाउँदा उपचार तालिका नै अवरुद्ध भएको चिकित्सकहरूले बताएका छन्।

उपचार रोकिँदा क्यान्सर पुनः फैलिने, शरीरमा रोगको प्रभाव बढ्ने र बिरामीको मानसिक अवस्था समेत कमजोर हुने जोखिम बढेको बताइएको छ। चिकित्सकहरूका अनुसार उपचारको निरन्तरता टुट्नु क्यान्सर उपचारमा सबैभन्दा ठूलो चुनौतीमध्ये एक हो।

भक्तपुर क्यान्सर अस्पतालले पनि समस्या झन् जटिल बन्दै गएको जनाएको छ। अस्पताल प्रशासनका अनुसार यो समस्या नेपालमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय बजारमै क्यान्सर औषधिको आपूर्तिमा समस्या देखिएको छ।

अभावको संकेत देखिएपछि अस्पतालहरूले औषधि व्यवस्था विभागलाई समयमै पहल गर्न आग्रह गर्दै पत्राचार गरिसकेका छन्। तर समस्या अझै समाधान हुन नसकेको जनाइएको छ।

भक्तपुर क्यान्सर अस्पतालमा मात्रै दैनिक ४० देखि ५० जना बिरामीलाई यी औषधि आवश्यक पर्ने जानकारी दिइएको छ। अस्पताल प्रशासनका अनुसार दीर्घकालीन समाधान नखोजिए आगामी दिनमा थप गम्भीर अवस्था सिर्जना हुन सक्छ।

अस्पतालका चिकित्सकहरूका अनुसार अहिले मौज्दातमा रहेको सीमित स्टक व्यवस्थापन गरेर सेवा दिइए पनि त्यो लामो समयसम्म पर्याप्त नहुने स्पष्ट देखिएको छ।

वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञहरूले ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ लाई किमोथेरापी उपचारको सबैभन्दा आधारभूत औषधिका रूपमा व्याख्या गरेका छन्। संसारभर तुलनात्मक रूपमा सस्तो मानिने यी औषधि नेपालमा अभाव हुन थालेको अवस्था अत्यन्त चिन्ताजनक रहेको उनीहरूको भनाइ छ।

नेपालमा यी औषधि उत्पादन नहुने भएकाले सम्पूर्ण उपचार सेवा आयातमा निर्भर छ। केही समयदेखि आयात प्रक्रिया प्रभावित भएपछि अस्पतालहरूले स्टकमा रहेको मौज्दातबाट सेवा दिइरहेका थिए। तर अहिले त्यो भण्डारण पनि सकिन थालेको छ।

वीर अस्पतालमा मात्रै दैनिक ४० देखि ५० जना बिरामीले किमोथेरापी सेवा लिने गरेका छन्। त्यसैले औषधि अभावको असर सीमित नभई ठूलो संख्याका बिरामीमा परेको देखिन्छ।

चिकित्सकहरू र स्वास्थ्य प्रशासनका अधिकारीहरूका अनुसार औषधि अभावको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुनु र नेपालमा मूल्य समायोजन नहुनु हो।

डलरको विनिमय दर बढ्दै जाँदा औषधि उत्पादन तथा निर्यात लागत पनि बढेको छ। तर नेपालमा पुरानै मूल्य कायम रहेकाले आयातकर्ताले घाटा व्यहोरेर औषधि ल्याउन नचाहेको बताइन्छ। यसले गर्दा बजारमा आपूर्ति क्रमशः घट्दै गएको छ।

औषधि व्यवस्था विभागले पनि समस्या स्वीकार गर्दै स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको जनाएको छ। विभागका अनुसार मूल्य समायोजन, आयात प्रक्रिया सहज बनाउने र आपूर्ति व्यवस्थापन सुधार गर्ने विषयमा छलफल भइरहेको छ।

औषधि अभावले सबैभन्दा ठूलो असर बिरामी र उनीहरूको परिवारमा परेको छ। नियमित उपचार तालिकाअनुसार अस्पताल पुग्ने बिरामी औषधि नपाउँदा निराश भएर फर्किन बाध्य भएका छन्।

क्यान्सर उपचार पहिले नै महँगो र मानसिक रूपमा कठिन प्रक्रिया मानिन्छ। त्यसमाथि आवश्यक औषधि नपाउँदा बिरामीमा डर, तनाव र असुरक्षा झन् बढेको चिकित्सकहरू बताउँछन्।

कतिपय बिरामी निजी अस्पताल वा विदेशबाट महँगो मूल्यमा औषधि खोज्न बाध्य भएका छन्। आर्थिक रूपमा कमजोर बिरामी भने उपचार नै रोक्ने अवस्थामा पुगेका छन्।

विशेषज्ञहरूका अनुसार निर्धारित समयमा किमोथेरापी नहुँदा रोग पुनः सक्रिय हुन सक्छ, उपचारको प्रभाव घट्न सक्छ र भविष्यमा उपचार अझ जटिल तथा महँगो बन्न सक्छ। समयमै उपचार नपाउँदा बिरामीको बाँच्ने सम्भावनामै असर पर्ने जोखिम रहने उनीहरूको चेतावनी छ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूले सरकारले तत्काल हस्तक्षेप गरेर औषधि आयात, मूल्य समायोजन र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनीहरूका अनुसार आधारभूत क्यान्सर औषधिको अभाव हुनु स्वास्थ्य प्रणालीकै कमजोरीको संकेत हो।

भविष्यमा यस्ता संकट दोहोरिन नदिन सरकारले रणनीतिक भण्डारण, वैकल्पिक आपूर्ति स्रोत, आपत्कालीन खरिद प्रणाली र दीर्घकालीन औषधि व्यवस्थापन नीति विकास गर्नुपर्ने सुझाव पनि दिइएको छ।

तसर्थ,समयमै प्रभावकारी कदम नचालिए नेपालमा क्यान्सर उपचार प्रणाली अझ गम्भीर संकटमा फस्नेछ र त्यसको प्रत्यक्ष असर हजारौँ बिरामीमा देखिने विशेषज्ञहरूले चेतावनी दिएका छन्।

चन्द्रमाको कला – ‘चन्द्रकला’

काठमाडौं। तपाईलाई थाहा छ? ब्रह्माण्ड गतिशील छ। हामीले देख्ने आकाश सधैं एउटै हुँदैन। दिन-रात बदलिरहन्छ।

याद गर्नुभएको छ? परिवर्तन र बदलावको सबैभन्दा सुन्दर उदाहरण चन्द्रमा हो। चन्द्रमा कहिले सानो चाँदीजस्तो रेखा हुन्छ। कहिले आधा उज्यालो। त कहिले पूर्ण उज्यालो। चन्द्रमाले आकाशमा आफ्नो रूप बदलिरहन्छ।

आज २०२६ मे २० को रातमा चन्द्रमा कस्तो देखिन्छ? आज चन्द्रमा ‘वेक्सिङ क्रिसेन्ट’ चरणमा रहेको देखिन्छ। यो चन्द्रमाको प्रारम्भिक दृश्य अवस्था हो, जुन नयाँ चन्द्रपछि तुरुन्तै सुरु हुन्छ।

यो समयमा चन्द्रमा करिब ३ दिन पुरानो हुन्छ र चन्द्रमाको सतहको करिब २१ प्रतिशत भाग मात्र सूर्यको प्रकाशले उज्यालो देखिन्छ। आकाशमा यो दृश्य अत्यन्त सूक्ष्म हुन्छ।

चन्द्रमाको यस्तो परिवर्तन कुनै आकस्मिक घटना होइन। यो पृथ्वी, चन्द्रमा र सूर्यबीचको निरन्तर गतिशीलताको परिणाम हो। चन्द्रमा पृथ्वीको वरिपरि परिक्रमा गर्दै जाँदा सूर्यको प्रकाशसँग यसको कोण निरन्तर बदलिन्छ। यही कारणले पृथ्वीबाट देखिने उज्यालो भाग कहिले बढ्छ। कहिले घट्छ। यसै प्रक्रियालाई ‘चन्द्र चरण’ भनिन्छ। जसले महिनाभर आठ फरक अवस्थाहरू पार गर्छ।

उदाहरणका लागि २०२६ को मे को चन्द्र चक्रलाई हेर्दा स्पष्ट रूपमा एक नियमित तालिका देखिन्छ। मे १ मा पूर्णिमा, मे ९ मा अन्तिम चौथो भाग, मे १६ मा नयाँ चन्द्र र मे २३ मा पहिलो चौथो भाग पर्ने देखिन्छ। यी चार प्रमुख चरणहरूले चन्द्रमाको सम्पूर्ण चक्रलाई चार आधारभूत भागमा विभाजन गर्छ।

प्रत्येक चरण करिब एक हप्ताको अन्तरमा आउने भएकाले आकाशीय समयलाई बुझ्न यो एक प्राकृतिक क्यालेन्डरजस्तै काम गर्छ।

प्राचीन सभ्यतादेखि नै मानिसहरूले चन्द्रमाको यही चक्रलाई ज्योतिष, कृषि, पर्व-उत्सव र समय गणनासँग जोड्दै आएका छन्।

चन्द्रमाको कलालाई मुख्य उज्यालो बढ्ने अवस्था र उज्यालो घट्ने अवस्था गरी अवस्थाहरूमा विभाजन गर्न सकिन्छ।

जब चन्द्रमा नयाँ चन्द्रबाट सुरु भएर पहिलो चौथो भागतर्फ अघि बढ्छ।  त्यसलाई उज्यालो बढ्ने अवस्था भनिन्छ। यस समयमा सुरुमा पातलो क्रिसेन्ट देखिन्छ। त्यसपछि क्रमशः गिबस हुँदै पूर्णिमासम्म पुग्छ। त्यतिबेला चन्द्रमा आफ्नो सबैभन्दा उज्यालो रूपमा देखिन्छ।

पूर्णिमापछि यो प्रक्रिया उल्टो दिशामा सुरु हुन्छ, जसलाई उज्यालो घट्ने अवस्था भनिन्छ। यस क्रममा चन्द्रमाको उज्यालो भाग क्रमशः घट्दै जान्छ। पहिले गिबस, त्यसपछि चौथो भाग, अनि अन्ततः सानो क्रिसेन्ट हुँदै फेरि नयाँ चन्द्रमा पुग्छ।

यही निरन्तर चक्रलाई चन्द्रमाको कला भनिन्छ। जसले अनन्त गतिशील खगोलीय घडीको काम गर्छ।

वैज्ञानिक दृष्टिले चन्द्रमाका यी चरणहरू पृथ्वी, सूर्य र चन्द्रमाबीचको ज्यामितीय सम्बन्धको परिणाम हुन्। चन्द्रमा सधैं आधा भाग सूर्यको प्रकाशले उज्यालो हुन्छ। तर पृथ्वीबाट हेर्दा हामीले त्यस उज्यालो भागको फरक-फरक अंश मात्र देख्छौं।

जब चन्द्रमा सूर्यसँग शून्य डिग्रीको स्थितिमा हुन्छ। तब नयाँ चन्द्र देखिन्छ। जब नब्बे डिग्रीमा पहिलो चौथो भाग देखिन्छ भने एक सय असी डिग्रीमा पूर्णिमा देखिन्छ।

त्यसपछि यो क्रम पुनः उल्टो दिशामा दोहोरिन्छ। यसरी चन्द्रमा कुनै अनियमित रूपमा नभई पूर्ण गणितीय रूपमा परिवर्तनशील हुन्छ। यहि हो,चन्द्रमाको ‘चन्द्रकला’ भनिन्छ।

जेठ १५ को बजेट भाषण नयाँ संसद् हलबाट, कस्तो छ ? [तस्वीरहरू]

काठमाडौं। सिंहदरबारस्थित निर्माणाधीन संसद भवनभित्र प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ। आगामी जेठ १५ गतेको बजेट भाषण यही नयाँ सभा कक्षबाट गर्ने तयारी गरिएको बताइएको छ।

हाल हलभित्र साउण्ड सिस्टम, क्यामरा जडान, कुर्ची राख्ने तथा बत्ती जडानको काम भइरहेको निर्माण पक्षले जनाएको छ। पटकपटक म्याद थप्दा पनि ढिलाइ भएको निर्माण कार्यलाई जेठ १५ लक्षित गर्दै अहिले तीव्र रूपमा अघि बढाइएको छ।

निर्माण पूरा नभएकाले प्रतिनिधि सभा बैठक हाल अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ। नयाँ सभा कक्ष तयार भएपछि संसद बैठक नियमित रूपमा यहीँ सञ्चालन गरिने तयारी छ।

 

 

‘बिगुल’ पूर्वराष्ट्रपति यादव, गगनदेखि माधव नेपाल सम्मले हेरे

काठमाडौं । नेपाली फिल्म ‘बिगुल’ को विशेष प्रदर्शनमा नेपालका शीर्ष राजनीतिक नेताहरूको उपस्थिति देखिएको छ । मङ्गलबार साँझ विश्वज्योति चलचित्र भवनमा आयोजित विशेष शोमा फिल्म हेर्न पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्व मन्त्री प्रदीप पौडेल, सांसद अर्जुननरसिंह केसीलगायत नेताहरू पुगेका थिए ।

प्रदर्शनपछि अधिकांश दर्शक तथा नेताहरूले फिल्मले उठाएको विषयवस्तु वर्तमान नेपालको सामाजिक तथा राजनीतिक यथार्थसँग गहिरो रूपमा जोडिएको प्रतिक्रिया दिएका छन् ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले लामो समयपछि हलमा पुगेर नेपाली फिल्म हेरेको उल्लेख गर्दै ‘बिगुल’ लाई देशको यथार्थ बोल्ने साहसी फिल्मको रूपमा व्याख्या गरे ।

उनको भनाइ थियो, ‘यो फिल्मले समाजको वास्तविकता उजागर गरेको छ, लामो समयपछि हलमा बसेर नेपाली फिल्म हेर्न पाउँदा राम्रो अनुभव भयो ।’

त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापाले ‘बिगुल’ केवल मनोरञ्जन नभई समाजलाई सोच्न बाध्य बनाउने चेतनाको माध्यम भएको टिप्पणी गरे । उनका अनुसार फिल्मले जनताको भावना र विद्यमान असन्तोषलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।

फिल्मको विशेष प्रदर्शनअघि नै यसको चर्चा सामाजिक सञ्जालमा पनि व्यापक बनेको थियो । केही समयअघि विवादका कारण रोकिएको भनिएको यो फिल्म पुनः प्रदर्शनमा ल्याइएको हो ।

फिल्म ‘बिगुल’ ले देशको राजनीतिक अस्थिरता, भ्रष्टाचार, प्रशासनिक विकृति र जनआक्रोशलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ । निर्देशक रमेश कोइरालाका अनुसार फिल्म कुनै व्यक्ति वा दलविरुद्ध नभई समाजमा देखिएको विकृत प्रणालीप्रति कलात्मक प्रश्न हो ।

फिल्मका निर्माता दिनेश कोइराला हुन् । प्रदर्शनपछि निर्देशक कोइरालाले फिल्मलाई समाजको ऐना बताउँदै यसले उठाएका विषय बहसका लागि आवश्यक रहेको बताए ।

फिल्ममा बेनिशा हमाल, नरेन खड्का, जेएन घिमिरे, हेमन्त बुढाथोकी, विनोद न्यौपाने, मिरा पण्डित, मान्सी शर्मा र रवीन्द्र खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको आगामी जुन २६ देखि अस्ट्रेलियाका विभिन्न सहरहरूमा समेत प्रदर्शन हुने तयारी गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

देउवा पक्ष अनामनगर सम्पर्क कार्यालयमा [तस्वीरहरू]

काठमाडौं। नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनको लागि देउवा पक्षका नेता कार्यकर्ताले अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेका छन्।
अनामनगरमा वैशाखदेखि सम्पर्क कार्यालय स्थापना गरी विभिन्न जिल्लाका साथीभाइहरुसँग भेटघाट र बैठक गर्ने उद्देश्यका साथ कार्यालय स्थापना गरेको कांग्रेस महासमिति सदस्य मनोहरी श्रेष्ठ जानकारी दिए ।
विभिन्न जिल्लाबाट साथीहरू आएका हुन्छन् , कहाँ भेट्ने, कहाँ जाने, ठाउँ हुँदैन, त्यसले गर्दाखेरि हामीले चाहिँ यो अफिस, सम्पर्क अफिस खोलेका हौं, उनले बताए ।

हँसिया प्रहारपछि भोलिपल्ट श्रीमानको मृत्यु, पत्नीविरुद्ध जन्मकैद माग

काठमाडौं । घटना गत १० वैशाखकाे हाे । विदेशबाट फर्किएका देवर नाता पर्ने श्यामलाल बुढाले गाउँमा भोज आयोजना गरे। सोही भोजमा निमबहादुर बुढा पनि सहभागी भए। साँझ घर फर्कंदा उनी अत्यधिक नशामा थिए।

त्यही बेलामा श्रीमति लिलामति घर नजिकैको बारिमा गहुँ काटिरहेकी थिइन्। उनले बयानमा भनिन्- नशामा श्रीमान घरमा जाम् भन्दै बारिबाटै चिच्याइरहनुभयो। केहीबेरपछि घर जाँदा पनि कराइरहनुभएको थियो।’

त्यसै क्षणमा उनीहरुबीच तनाव भयाे । गहुँ काट्ने हँसिया हातमै भएकाले उनले हसियाको पछाडिको फलामे भागले श्रीमानको दाहिने पाखुरामा एकपटक प्रहार गरिन्।
उनको दाबी छ- ‘गम्भीर चोट दिने उद्देश्य थिएन, चोट पनि खासै देखिएन।’ घटना राेल्पाकाे त्रिवेणी गाउँपालिका-२ काे हाे ।

यसपछि दुबैजना सोही रात एउटै बेडमा सुते। श्रीमती लिलामतिका अनुसार रक्सीको नशाबाट श्रीमान् निमबहादुर फ्रेस भएका थिएनन्।
भोलिपल्ट बिहान करिब २ बजे उनी आकस्मिक रूपमा ब्यूँझिएर ‘ढिडो खाने’ इच्छा व्यक्त गरे।
लिलामतीकाे बयान छ- ‘मैले एक-दुई चम्चा ढिडो खुवाएँ। पछि पानी मागेपछि दुई गिलास पिए। तेस्रो गिलासको आधा पनि पिउँदै गर्दा अचानक ‘ख्वाक्क–ख्वाक्क’ गरे, अचेत भए।’

लिलामतिले त्यसपछि बोलाउँदा निमबहादुर बाेलेनन् । अनि, छिमेकी बुहारी चन्द्रकुमारी बुढालाई बोलाइन् । जतिबेलासम्ममा निमबहादुरको श्‍वासप्रश्‍वास राेकिसकेकाे थियाे ।
लिलामतीले घटनालाई ‘अचानक मृत्यु’ को रूपमा व्याख्या गरेकी छन्। तर, प्रहरीले गरेकाे पाेलिग्राफ परीक्षण प्रतिवेदनले घटनाकाे अनुसन्धान माेडियाे ।

अन्तत: गहन अध्ययनपछि प्रहरीले लिलामति नै आफ्ना श्रीमानकाे हत्या घटनामा जिम्मेवार रहेकाे निष्कर्ष निकाल्दै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो ।

कार्यालयले बुधबार जिल्ला अदालत रोल्पामा लिलामतिविरुद्ध जन्मकैदको माग गर्दै आरोपपत्र दायर गरेको छ ।

बेइजिङमा पुटिनको सीसँग रणनीतिक साझेदारीबारे उच्चस्तरीय वार्ता हुँदै

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा भएको यस भ्रमणका क्रममा बुधबार दुई नेताबीच उच्चस्तरीय भेटवार्ता हुने तय भएको छ।

सन् २०२६ मा पुटिन र सीबीच हुने यो पहिलो प्रत्यक्ष भेटवार्ता हो। रूस–चीनबीचको ‘सद्भावना र मैत्रीपूर्ण सहकार्य सन्धि’ को २५औँ वार्षिकोत्सव तथा २१औँ शताब्दीका लागि रणनीतिक साझेदारी स्थापना भएको ३० वर्ष पुगेको अवसरमा यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।

भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, ऊर्जा, व्यापार तथा समसामयिक अन्तर्राष्ट्रिय मुद्दाबारे विस्तृत छलफल हुने जनाइएको छ। रूसी समाचार संस्था तासका अनुसार भ्रमणका क्रममा दुई देशबीच करिब ४० वटा अन्तरसरकारी, अन्तरविभागीय तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ। तीमध्ये २१ वटा सम्झौतामा दुवै राष्ट्रपतिका उपस्थितिमै हस्ताक्षर गरिने बताइएको छ।

दुवै देशले ‘समग्र साझेदारी र रणनीतिक सहकार्य’ लाई थप सुदृढ गर्ने विषयमा संयुक्त वक्तव्यसमेत जारी गर्ने तयारी गरेका छन्। साथै, पुटिन र सीले सन् २०२६ २०२७ लाई अन्तरसांस्कृतिक शिक्षा वर्षका रूपमा शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको छ।

भ्रमणका क्रममा पुटिनले बाल्यकालमा आफूलाई भेटेका चिनियाँ इन्जिनियर पेंग पाईसँग पनि भेट गर्नेछन्। पेंगले उक्त भेटले आफूलाई रूसमा उच्च शिक्षा अध्ययन गर्न प्रेरित गरेको बताएका छन्।

यसैबीच, पुटिनले चिनियाँ प्रधानमन्त्री ली क्वाङ सँग छुट्टै भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। भ्रमणको अवसरमा आयोजित विशेष स्वागत समारोहमा व्यवसाय, सञ्चार, शिक्षा तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

अस्पतालमा फोटो खिच्ने पापाराजीमाथि खनिए सलमान खान

एजेन्सी। बलिउड अभिनेता सलमान खानले अस्पताल परिसरमा तस्बिर खिच्ने पापाराजी पत्रकारहरूप्रति असन्तुष्टि जनाएका छन् ।

हालै मुम्बईको एक अस्पतालमा निजी भेटका लागि पुगेका बेला बाहिर निस्कने क्रममा फोटोग्राफरहरूले लगातार तस्बिर खिच्न थालेपछि सलमान आक्रोशित बनेका थिए । उनले अस्पतालजस्तो संवेदनशील स्थानमा गोपनीयताको सम्मान गर्नुपर्ने बताएका छन् ।

घटनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले अस्पतालमा मानिसहरू स्वास्थ्य समस्या र पीडासँग जुधिरहेको अवस्थामा त्यसलाई मनोरञ्जनको सामग्री नबनाउन आग्रह गरेका छन् ।

सलमानले लामो समयदेखि मिडियासँग सहकार्य गर्दै आएको उल्लेख गर्दै यस्ता परिस्थितिमा जिम्मेवार व्यवहार आवश्यक रहेको बताएका छन् । उनले ‘यदि आफ्नै परिवारका सदस्य अस्पतालमा भएको भए कस्तो व्यवहार गरिन्थ्यो ?’ भन्ने प्रश्न पनि उठाएका छन् ।

घटनापछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ । धेरैले अस्पताल परिसरमा गोपनीयता र मर्यादा कायम हुनुपर्ने भन्दै सलमानको भनाइलाई समर्थन गरेका छन् ।

केहीले भने सेलिब्रेटी र पापाराजी संस्कृतिबीचको सम्बन्धबारे पुनः बहस आवश्यक रहेको बताएका छन् ।

खरानी टकटक्याएर जुरुक्क उठ्दै मिनबहादुर

काठमाडौं । हालै भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ  (किओच) बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्।

गुरुङले किओच बाल अस्पतालको वेस्ट ब्लक भवन निर्माणका लागि हालसम्म ७१ करोड रुपैयाँभन्दा बढी दान गरेका हुन् । यसअघि पनि उनले थुप्रै ठाउँमा पैँसा दान र चन्दा सहयोग गर्दै आएका छन्। 

अहिले व्यावसायी मिनबहादुर गुरुङ पुनः आफ्नो व्यवसायलाई पुनर्जीवित गर्ने अभियानमा छन्। गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभर विभिन्न स्थानमा भएको तोडफोड र आगजनीबाट उनको स्वामित्वमा रहेको भाटभटेनी सुपरमार्केट चेनमा अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको थियो। सो घटनापछि धेरैले उनको व्यवसायिक यात्रामा ठूलो धक्का लागेको र भाटभटेनीको भविष्य अनिश्चित बनेको अनुमान गरेका थिए।

तर, अपेक्षाविपरीत गुरुङले हार नमान्दै पुनर्निर्माण र पुनःस्थापनाको कामलाई तीव्रता दिएका छन्। आगजनी र क्षति पुगेका शाखाहरूमा सरसफाइ, मर्मत तथा पुनःसञ्चालनको काम क्रमशः अघि बढाइएको छ। केही आउटलेटहरू पहिले नै पुनः सञ्चालनमा आइसकेका छन् भने अन्य शाखाहरू पुनर्निर्माणको चरणमा छन्। यसले भाटभटेनी पुनः सामान्य अवस्थामा फर्किएको छ।

भाटभटेनी सुपरमार्केट अहिले पनि नेपाली उपभोक्ताहरूका लागि दैनिक आवश्यक वस्तु खरिद गर्ने सबैभन्दा ठूलो र लोकप्रिय खुद्रा बजारका रूपमा स्थापित छ। खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्रीसम्म एकै छानामुनि उपलब्ध गराउने यस नेटवर्कले ठूलो उपभोक्ता आधार बनाएको छ।

यस व्यवसायले हजारौँ नेपालीलाई प्रत्यक्ष रोजगारी पनि प्रदान गर्दै आएको छ। व्यवस्थापन, बिक्री, आपूर्ति श्रृंखला तथा सेवा क्षेत्रमा संलग्न कर्मचारीहरूका लागि यो एउटा महत्वपूर्ण रोजगारदाताको रूपमा रहेको छ। साथै, अप्रत्यक्ष रूपमा पनि ठूलो संख्यामा व्यक्तिहरू यसको आपूर्ति तथा वितरण प्रणालीसँग जोडिएका छन्।

पुनर्निर्माण अभियानसँगै मिनबहादुर गुरुङले भाटभटेनीलाई पहिलेको जस्तै सशक्त बनाउने प्रयास गरिरहेका छन्। व्यवसायिक चुनौतीका बाबजुद निरन्तर लगानी र पुनर्संरचनामार्फत उनले आफ्नो उद्यमलाई फेरि मजबुत बनाउन थालेका छन्।

चाेरकाे बयान-आमाको मृत्यु भयाे, बुबा बेपत्ता र जग्गाजमिन नहुँदा चोर्न बाध्य भएँ

काठमाडौं । रुपन्देहीको बेलहिया क्षेत्रमा भएको चोरी घटनामा पक्राउ परेका भारतीय नागरिक इमरान खानले आफू आर्थिक अभाव र जीविकोपार्जनका कठिनाइका कारण चोरी गर्न बाध्य भएको बताएका छन्।

भारतको महाराष्ट्रकाे मुम्बईमा जन्मिएका इमरानले १५ वर्षअघि आमाको मृत्यु भइसकेको, बुबाको बेपत्ता भएको र गरिखान घरजग्गा नहुँदा चाेर्न बाध्य भएकाे बयान दिएका छन् ।

उनका अनुसार जीवनयापनका लागि रोजगारी खोज्दै उनी केही महिना अघि नेपाल आएका थिए।

नेपाल आएपछि विभिन्‍न ठाउँमा सानो- ठूलो काम गरे पनि कमाइ अत्यन्त न्यून हुँदा खान र लाउनसमेत अपुग हुने स्थिति आएको इमरानले बताएका छन्। यही आर्थिक संकटले मानसिक दबाब बढाउँदै लगेपछि उनले छिटो पैसा कमाउने उपायको खोजी गर्न थाले। यस्तै अवस्थामा २०८३ वैशाख १३ गते बेलुकी बेलहिया क्षेत्रमा घुमिरहेको बेला खुला भएको तर भित्र मान्छे नदेखिएको एउटा पसलमा उनले आँखा परे। सोही क्षण उनले त्यही पसलबाट चोरी गर्ने निर्णय गरेको बयानमा उल्लेख छ।

इमरानका अनुसार उनी पसलभित्र पसेर धर्रा फोडी दुईवटा मोबाइल र केही नगद लिएर बाहिरिएका थिए। कति नगद रकम लिए भन्ने आफूलाई थाहा नभएको उनले प्रहरीसमक्ष बताएका छन्।

चोरेको नगद उनले सोही रात रक्सी, मासु र नास्तामा खर्च गरे। मादक पदार्थ सेवनका कारण आफू धिसमिस भएको र चोरेको मोबाइल कहाँ खस्यो भन्ने समेत थाहा नपाएको उनले स्वीकार गरेका छन्।

घटनापछि पसल मालिकले सीसीटीभी फुटेज अवलोकन गरी प्रहरीलाई खबर गरेका थिए। त्यसको भोलिपल्ट अर्थात् २०८३ वैशाख १४ गते प्रहरीको खोजतलासका क्रममा इमरान सुनौली बोर्डर आसपास घुमिरहेको बेला पक्राउ परेका हुन्।

पक्राउपछि प्रहरीले फुटेज देखाउँदा भिडियोमा देखिएको व्यक्ति आफू नै भएको उनले सनाखत गरिदिए। चोरी गरेको स्वीकारोक्ति बयानसमेत उनले बन्द कागजमा दिएका छन्।

आर्थिक अभावका कारण जीविकोपार्जन कठिन हुँदै जाँदा आफू गलत बाटोतर्फ धकेलिएको इमरानको भनाइले गरिबी र अपराधबीचको सम्बन्धलाई पुनः एकपटक सतहमा ल्याएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको छ।

ठेक्कापट्टा गर्दा प्रेम बस्यो र श्रीमती नभएको बेला घरमै ल्याएर करणी गर्दा जेलवास

काठमाडौं । नाबालिका करणी घटनाका आरोपी रेशम भन्ने रणबहादुर सुनारले आफू र पीडितबीच पहिले प्रेम सम्बन्ध रहेको, पछि विवाह भएको र त्यसपछि सहमतिमै शारीरिक सम्बन्ध बनेको दाबी गरेका छन् ।

प्रहरीसमक्ष दिएको बयानमा उनले २०८० सालमा डोल्पाको ठूलीभेरी नगरपालिका-५ लाहारामा ठेक्कापट्टाको कामका क्रममा ती बालिकासँग चिनजान भएको बताएका छन् ।

चिनजानपछि मोबाइल नम्बर साटासाट भई कुराकानी हुँदै जाँदा सम्बन्ध प्रेममा परिणत भएको उनको भनाइ छ । उनी रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका हुन् ।

सुनारका अनुसार सम्बन्ध विस्तार हुँदै गएपछि दुवैबीच विवाह गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार उनले २०८२ साल असोज १३ गते ती बालिकासँग विवाह गरेको र त्यसपछि आफ्नै घरमा ल्याएको बयानमा उल्लेख छ ।

उनले श्रीमती नभएको बेला ती बालिकालाई घरमा ल्याएर ‘कान्छी श्रीमती’को रूपमा राखेको पनि बताएका छन् । त्यसपछि दुवैको सहमतिमा एक पटक शारीरिक सम्बन्ध भएको उनको दाबी छ ।

उनका अनुसार सो क्रममा वीर्य स्खलन भएको र पछि ती बालिकाको गर्भ रहेको पत्ता लागेको थियो ।

तर, उनकी जेठी श्रीमती सिर्जना सुनारले बहुविवाहको आरोपमा किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।

सोही अनुसन्धानका क्रममा बहुविवाह मुद्दाको अनुसन्धान अघि बढ्दै जाँदा जबरजस्ती करणीसम्बन्धी विषयसमेत खुलेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवादी सुनारले अनुसन्धान अधिकारीसमक्ष नाबालिकासँग सम्बन्ध राख्नु आफ्नो गल्ती भएको स्वीकार गरेको बयानमा उल्लेख छ ।

प्रहरीले उक्त घटनामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।