`

दुई दिनमै दुई महिलाको बिभत्स हत्या

काठमाडौं। झापामा दुई दिनको अवधिमा दुई जना महिलाको हत्या भएको छ । फरक-फरक स्थानमा हत्याको घटना भएको हो ।

प्रहरीका अनुसार एक घटनामा पतिले आफ्नै पत्नीको हत्या गरेका छन्। अर्को घटनामा एक युवकको संलग्नता रहेको पाइएको छ । दुवै घटनामा संलग्न आरोपित पक्राउ परेका छन् ।

झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका-५ कञ्चनश्रीमा मंगलबार राति करिब ११ बजे ४४ वर्षीय गोकर्ण भण्डारीले आफ्नी ३३ वर्षीया पत्नी उर्मिला भण्डारीमाथि धारिलो हतियार ‘बाम्पोक’ प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेपछि उर्मिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । असई छविहाङ शेर्माको नेतृत्वमा पुगेको टोलीले गोकर्णलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक उर्मिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

त्यसअघि सोमबार राति अर्जुनधारा नगरपालिका-८ कुशलचोकमा अर्की महिला २९ वर्षीया काजल बस्नेत सुवेदीको मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा अर्जुनधारा–५ कञ्चनबाडीका २४ वर्षीय किरण गौतम पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सोमबार राति काजल र किरण एआईएमएस सेकेन्डरी बोर्डिङ स्कुल नजिकको खुला चउरमा मदिरा सेवन गरिरहेका थिए । सोही क्रममा विवाद हुँदा किरणले काजललाई धकेलेका थिए । धकेलिँदा काजल कंक्रिटको प्लममा ठोक्किएर गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि विभिन्न अस्पतालमा लगिए पनि मंगलबार बिहान प्रादेशिक मेची अस्पताल भद्रपुरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका छन् ।

दुवै घटनामा पक्राउ परेका व्यक्तिविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए ।

रास्वपा नैतिक दबाबमा : मन्त्रीदेखि सांसदसम्म विवादको घेरामा

काठमाडौं । परिवर्तन, सुशासन र स्वच्छ राजनीतिको नारा बोकेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आफ्नै नेता तथा मन्त्रीमाथि उठेका विवादका कारण दबाबमा परेको छ ।

पुराना दलको भ्रष्टाचार, अनियमितता र नैतिक विचलनमाथि चर्को आलोचना गर्दै आएको रास्वपाका सांसददेखि मन्त्रीसम्म विभिन्‍न प्रकरणमा तानिन थालेपछि पार्टीको राजनीतिक विश्‍वसनीयतामाथि प्रश्न उठ्न थालेको छ ।

छोटो समयमै नेपाली राजनीतिमा प्रभावशाली शक्ति बनेको रास्वपाले युवापुस्तामाझ ठूलो आशा जगाएको थियो । नयाँ अनुहारसँगै फरक राजनीतिक संस्कार दिने अपेक्षामा जनताले दिएको समर्थनले पार्टीलाई सत्ता राजनीतिमा बलियो स्थान दिलायो ।

तर, सरकार गठन भएको छोटो अवधिमै रास्वपाका मन्त्री र सांसदहरू विभिन्न विवादमा मुछिँदा पार्टीमाथि नैतिक दबाब बढेको छ ।

रास्वपा सभापति रवि लामिछाने स्वयं लामो समयदेखि विवादको केन्द्रमा छन् । उनीविरुद्ध नागरिकता विवाददेखि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छन् । गृहमन्त्री हुँदा शक्तिको दुरुपयोग गरेको आरोपसमेत उनीमाथि लागेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले पदको दुरुपयोग गरी आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा संलग्न गराएको आरोपपछि राजीनामा दिनुपरेको अवस्था सिर्जना भयो ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतामाथि पनि सोही बोर्डमा पुनः नियुक्ति दिएको भन्दै आलोचना भयो । उनी यसअघि पनि ‘एमबीबीएस परीक्षा पास गराइदिन्छु’ भन्दै रकम ठगी गरेको आरोपमा विवादमा परेका थिए, यद्यपि अदालतबाट सफाइ पाएका थिए ।

जेन-जी आन्दोलनमार्फत राजनीतिमा उदाएका सुधन गुरुङ पनि विवादबाट जोगिन सकेनन् । गृहमन्त्री रहँदा उनले केही कम्पनीमा रहेको आफ्नो सेयर सम्पत्ति विवरणमा नदेखाएको आरोप लाग्यो । विवादित व्यवसायीसँगको सम्बन्धबारे आलोचना चर्किएपछि अन्ततः उनले पद छाड्नुपर्‍यो ।

रास्वपा सांसद जगदीश खरेलमाथि पनि स्मार्ट टेलिकमसँग सम्बन्धित बहुचर्चित आर्थिक प्रकरणमा नाम जोडिएको चर्चा छ । अर्कोतर्फ सांसदहरू केपी खनाल, जगतप्रसाद जोशी, सागर ढकाल, प्रशान्त उप्रेती तथा खडकराज पौडेलमाथि सार्वजनिक जग्गामा घर निर्माण गरेको विषयले प्रश्न उठेको छ ।

सांसद आशिका तामाङमाथि जर्मनीको स्थायी आवासीय अनुमति (पीआर) लिएको आरोप लागेपछि उनले आफू अस्थायी बसोबास अनुमति (टीआर) मा मात्रै रहेको स्पष्टिकरण दिएकी थिइन् । त्यस्तै सांसद कृष्णकुमार कार्कीमाथि एक विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप सार्वजनिक भएपछि थप विवाद सिर्जना भयो ।

रास्वपाको उदयमा सामाजिक सञ्जाल र युवा आन्दोलनको महत्वपूर्ण भूमिका थियो । आक्रामक भाषण, पुराना दलप्रतिको असन्तोष र परिवर्तनको एजेन्डामार्फत लोकप्रियता कमाएको पार्टी अहिले व्यवहारिक राजनीतिमा भने चुनौतीको सामना गरिरहेको देखिन्छ । सामाजिक सञ्जालमा चर्को अभिव्यक्ति दिने नेताहरू व्यवहारमा आलोचना र प्रश्नप्रति असहज देखिएको टिप्पणी हुन थालेको छ ।

यद्यपि रास्वपा समर्थकहरू भने पुराना राजनीतिक शक्तिले योजनाबद्ध रूपमा नयाँ दललाई कमजोर बनाउन विवाद सिर्जना गरिरहेको दाबी गर्छन् । उनीहरूका अनुसार परिवर्तनको प्रयास गर्ने शक्तिलाई विभिन्न आरोपमार्फत बदनाम गर्न खोजिएको हो ।

तर, राजनीतिक विश्लेषकहरूका अनुसार जनताले रास्वपालाई केवल नयाँ अनुहारका कारण नभई फरक राजनीतिक संस्कारको अपेक्षासहित समर्थन गरेका थिए ।

त्यसैले पार्टीका नेता र मन्त्रीहरूमाथि उठेका विवादले रास्वपाको नैतिक दाबीमाथि नै गम्भीर प्रश्न खडा गरेको छ । अब आत्मसमीक्षा र संगठनात्मक सुधारमार्फत विश्वसनीयता जोगाउने कि विवादकै घेरामा कमजोर बन्ने भन्ने चुनौती रास्वपाको नेतृत्वसामु देखिएको छ ।

‘कक्रोच जनता पार्टी’ निकै भाइरल बनेपछि

काठमाडौं । भारतमा ‘कक्रोच जनता पार्टी’ नामक व्यङ्ग्यात्मक राजनीतिक अभियान यतिबेला सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ। अभिजीत दिपकेको सामान्य ठट्टाबाट सुरु भएको यो पहल अहिले ठूलो अनलाइन आन्दोलनमा परिणत भएको हो।

बोस्टन विश्वविद्यालयबाट हालै ‘पब्लिक रिलेसन’ विषयमा स्नातक गरेका ३० वर्षीय दिपकेले सुरुमा मनोरञ्जनका रूपमा सुरु गरेको अवधारणा अहिले हजारौँ मानिसहरू दैनिक रूपमा जोडिने डिजिटल अभियान बनेको छ। पछिल्ला दिनहरूमा यसले भारतभर व्यापक ध्यान तानेको छ।

भारतमा बेरोजगारी, महँगी र राजनीतिक ध्रुवीकरणप्रति असन्तुष्ट युवा प्रयोगकर्ताहरूले यस अभियानलाई समर्थन गरिरहेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा मात्र ‘कक्रोच जनता पार्टी’ले तीन दिनमै ३० लाखभन्दा बढी फलोअर्स प्राप्त गरेको छ भने लाखौँले सदस्यताका लागि आवेदन दिएका छन्।

पार्टीसँग जोडिनेहरूमा केही विपक्षी राजनीतिक व्यक्तित्वहरू समेत देखिएका छन्। अभियानले आफूलाई व्यङ्ग्यात्मक रूपमा ‘अल्छी र बेरोजगार युवाहरूको समूह’ भन्दै प्रस्तुत गरेको छ।

यसको घोषणापत्रमा समकालीन भारतीय राजनीतिक मुद्दाहरू सरकारमाथिका आरोप, मिडियाको भूमिकाप्रति आलोचना र संस्थागत संरचनामाथि प्रश्नलाई व्यङ्ग्यात्मक शैलीमा उठाइएको छ।

दिपकेले यस अभियानको रूपरेखा बनाउन एआई उपकरणहरूको समेत प्रयोग गरेको बताएका छन्। सुरुमा सामान्य ठट्टा मात्र मानिएको यो पहल अहिले उनको लागि पूर्णकालीन डिजिटल राजनीतिक आन्दोलनजस्तो बनेको छ।

संसदमा विद्रोही हर्क

‘हामीले प्रश्न सोध्न नपाउने?’

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले संसदमा बोल्दै गर्दा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रश्न गरे। त्यसपछि सभामुख डिपी अर्यालले उनलाई बस्न रुलिङ गरे। तर साम्पाङले मानेनन्, उनी प्रश्न सोधिरहे।

लगत्तै श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई पनि उठे। उनले पनि सभामुखसँग बोल्न नदिएको भन्दै आपत्ति जनाइरहेका थिए। ‘हामी बोल्न नपाउने हो?’ उनी सोधिरहेका थिए।

सभामुखको रुलिङ जारी नै थियो। उनले साम्पाङ लगायत श्रम संस्कृति पार्टीका सांसदलाई प्रतिनिधिसभा नियमावलीका विभिन्न दफातर्फ आकर्षित गराइरहेका थिए। तर न हर्क रोकिए, न उनको दलका अरु सांसद। 

त्यसपछि श्रम संस्कृतिका अर्का सांसद ध्रुव राई उठे। सभामुखको रुलिङका बाबजुद उनी पनि सभामुखसँगै लड्न कस्सिए। अर्यालले ‘बस्नुस्’ भनेर भन्दै थिए, तलबाट राईले भने, ‘हामी बस्दैनौँ, के गर्नुहुन्छ?’

यो बुधबारको प्रतिनिधिसभा बैठकको दृश्य हो।

यो त आजको दृश्य भयो। हरेक दिनजसो साम्पाङ संसदमा उठिरहन्छन्। भलै नियमावलीविपरीत होला, तर उनी प्रश्नको उत्तर खोजिरहन्छन्। चाहे प्रधानमन्त्री संसदमा जवाफ दिन नआएको बेला होस्, या सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा। सरकारले अध्यादेश ल्याउदा होस्, की प्रधानन्यायाधिश सिफारिस प्रकरणमा। उनले आलोचना र प्रश्न गर्न छोडेका छैनन्।

त्यसअघि सोमबारको प्रतिनिधिसभा बैठकमा साम्पाङ छातीमा पम्लेष्ट टाँसेर उपस्थित भए। पम्प्लेष्टमार्फत उनले सदनमा प्रधानमन्त्री र उनको संसदप्रतिको दायीत्व खोजीरहेका थिए। ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ, प्रश्नदेखि भाग्न पाइदैन, जनमतलाई बन्द गर्, संसद छलेर अध्यादेश ल्याउन बन्द गर्, संसदीय जिम्मेवारी बहन गर्,’ उनको पम्लेष्टमा लेखिएको थियो। 

उसो त श्रम संस्कृति पार्टी सदनमा दरिलो प्रतिपक्षको ‘स्पेस’ बनाइरहेको छ। सांसद भलै ६ जना छन्, तर सदनमा भने ३८ सिटे कांग्रेस र २५ सिटे एमाले पनि श्रम संस्कृतिको अगाडि फिक्का फिक्का देखिन्छन्।

साम्पाङ र उनको दलका सांसदहरूले सदनमा दैनिक जनजीविकाका सवाल उठाउँछन्। राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता र स्वाधीनता उनको दलको संसदीय सवालको केन्द्रमा रहन्छ। सुकुमवासी बस्तीमा सरकारले डोजर चलाउँदा श्रम संस्कृति पार्टी विस्थापित नागरिकको पक्षमा दरिलो गरी उभियो। भलै उनीहरूले डोजर रोक्न सकेनन्, तर श्रम संस्कृति पार्टीले गरिब, असहाय र पीडितहरूको पक्षमा काम गर्छ भन्ने सन्देश दिन भने मज्जाले सफल भयो।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा प्रयोग गरेर कैलाश मानसरोवरसम्म सडक बनाइरहेको कुरालाई पनि उनले सदनमा जोडतोडका साथ उठाए। प्रधानमन्त्रीसँग जवाफ मागे। महाकाली नदी आसपासका नागरिकलाई आवतजावतमा समस्या भइरहेको भन्दै श्रमदान गरेर पुल बनाउने उद्देश्यसहित दार्चुला पुगेका उनले त्यसका लागि अभियान नै चलाए।

तेल, पेट्रोल, चामल लगायतका दैनिक उपभोग्य वस्तुमा सरकारले मूल्यवृद्धि गर्दा उनको दल सदनमा खरो सुनिन्छ। बाँदर, बँदेल लगायतका जंगली जनावरले गाउँमा आतंक मच्चाएको विषयमा श्रम संस्कृतिले आपत्ति जनाउँछ। किसानले मल नपाएको, सीमाक्षेत्रमा भन्सार बढाएको विषयलाई श्रम संस्कृतिका सांसदहरूले सदनमा जोडतोडका साथ उठाउँछन्। 

प्रतिनिधिसभा बैठकमा हरेक दिन सभामुख बस्न भनिरहन्छन्, हर्क उठिरहन्छन्। उठेपछि उनले सभामुखसँग एकछिन सवाल जवाफ गर्छन्। जवाफ चित्त नबुझे उनले संसद बैठक नै बहिष्कार गरिदिन्छन्। बाहिर सञ्चारकर्मीलाई सदन बहिष्कार गर्नुको कारण भन्छन्। यी र यस्तै कारणले नै श्रम संस्कृति पार्टी सदनको दरिलो र खरो प्रतिपक्षका रूपमा उदाइरहेको छ।

प्रतिनिधिसभाको आकस्मिक समयमा जनजीविकाका मुद्दा केन्द्रमा

काठमाडौं। प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले स्वास्थ्य सेवा सुधार, विपद् व्यवस्थापन, सुकुम्बासी समस्या, सडक सुरक्षा तथा सामाजिक समावेशितालगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसदहरूले देशभर देखिएका आधारभूत सेवा अभावदेखि प्राकृतिक प्रकोपका असर र सामाजिक सुरक्षासम्बन्धी समस्यासम्मका मुद्दा उठाएका थिए ।

सांसद ज्ञानु पौडेलले नागरिकको मौलिक अधिकारका रूपमा रहेको स्वास्थ्य सेवाको प्रभावकारी कार्यान्वयनमा सरकार असफल भइरहेको टिप्पणी गरिन् । उनले देशभर स्वास्थ्य सेवाको पहुँच अझै सहज र समान रूपमा उपलब्ध नभएको बताइन् ।

उनका अनुसार रुपन्देहीस्थित ९३ वर्ष पुरानो भीम अस्पतालमा अत्यावश्यक औषधिको अभाव देखिएको छ । ‘अस्पतालमा एन्टी–रेबिज खोप, सर्पदंश उपचारका लागि आवश्यक औषधि तथा जीवनरक्षक औषधिको अभाव छ । तत्काल व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्दछु,’ उनले भनिन् ।

सांसद खडकबहादुर बुढाले प्राकृतिक प्रकोपबाट प्रभावित तथा वास्तविक सुकुम्बासीको समयमै व्यवस्थापन गर्न सरकार असफल भएको बताए । उनले विपद्बाट क्षति पुगेका सडक, खानेपानी तथा पूर्वाधार पुनःस्थापना कार्य शीघ्र अघि बढाउन माग गरे । उनले विपद् व्यवस्थापनलाई दीर्घकालीन योजनासहित प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औँल्याए ।

सांसद डा. अर्जुनकुमार कार्कीले इबोला भाइरस सङ्क्रमणको सम्भावित जोखिमप्रति सरकार गम्भीर हुनुपर्ने बताए । उनले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इबोलालाई गम्भीर स्वास्थ्य जोखिमका रूपमा लिएको उल्लेख गर्दै अफ्रिकी मुलुकमा कार्यरत नेपाली नागरिकमार्फत नेपालमा पनि जोखिम प्रवेश गर्न सक्ने सम्भावनाबारे सचेत रहन आग्रह गरे ।

सांसद साजिदा खातुन सिद्धिकीले सडक दुर्घटनाका घटना बढ्दै गएको भन्दै सडक सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सरकारलाई आग्रह गरिन् ।

त्यस्तै सांसद मदनकृष्ण श्रेष्ठले अति अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण र हेरचाहका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए ।

सांसद समिना मियाँले बकर इदका अवसरमा तय गरिएका परीक्षाहरू स्थगित गरी वैकल्पिक व्यवस्था गर्न आग्रह गर्दै देशको धार्मिक र सांस्कृतिक विविधताको सम्मान गर्नुपर्ने धारणा राखिन् ।

सांसद यशोधाकुमारी बराल र रमेश सापकोटाले हुम्ला जिल्लाको चङ्खेली गाउँपालिकामा आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएको भन्दै तत्काल राहत र उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद सापकोटाले सडक पहुँच नहुँदा राहत सामग्री प्रभावित क्षेत्रमा पुग्न नसकेको उल्लेख गर्दै तत्काल बजेट विनियोजन र दीर्घकालीन विपद् व्यवस्थापन संयन्त्र निर्माण गर्न आग्रह गरे ।

बुधवारको बैठकमा सांसदहरूले उठाएका विषयहरू मुख्यतः स्वास्थ्य सेवा सुदृढीकरण, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा र आधारभूत सेवाको पहुँचसँग सम्बन्धित थिए । उनीहरूले सरकारलाई तत्काल कदम चाल्न र दीर्घकालीन समाधानतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

सदनमा निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक दर्ता

काठमाडौं। प्रतिनिधिसभामा दुई वटा नयाँ विधेयक दर्ता भएका छन् । सरकारले निर्वाचन प्रणालीलाई सुधार गर्ने र मतदाता नामावलीलाई अद्यावधिक गर्ने उद्देश्यसहित विधेयक दर्ता गरेको हो ।

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।

त्यसअनुसार, प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी विधेयक प्रधानमन्त्रीको हैसियतमा र मतदाता नामावलीसम्बन्धी विधेयक गृहमन्त्रीको हैसियतमा अघि बढाइएको हो ।

संविधानको धारा ८४ को उपधारा (२) अनुसार समानुपातिक निर्वाचन प्रणालीमार्फत हुने प्रतिनिधिसभा निर्वाचनमा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम तथा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

२०७८ सालको राष्ट्रिय जनगणनाको आधारमा जनसंख्याको अनुपातअनुसार विभिन्न समुदायको प्रतिनिधित्व प्रतिशत पुनः मिलाउन आवश्यक भएकाले विधेयक ल्याइएको प्रधानमन्त्री शाहले विधेयकमा उल्लेख गरेका छन् ।
त्यस्तै, मतदाता नामावलीसम्बन्धी विधेयकमा यसअघि अध्यादेशमार्फत गरिएको संशोधनलाई कानुनी मान्यता दिन आवश्यक भएको जनाइएको छ । २१ फागुनको निर्वाचनका लागि छुटेका मतदातालाई समेट्ने उद्देश्यले अध्यादेश ल्याइएको र त्यसलाई स्थायी कानुनी रूप दिन विधेयक अघि बढाइएको हो ।

अघिल्लो संसदमा कपी लिएर सभामुखका अघि बसेका अर्याल देख्दैछन् हर्ककाे विराेधशैली ‘असं‌सदीय’

काठमाडौं । प्रतिनिधि सभामा बुधबार हर्क साम्पाङ नेतृत्त्वकाे श्रम संस्कृति पार्टीका सांसदहरूले गरेको प्रदर्शनले सदनको वातावरण फेरि तात्यो ।

प्लेकार्ड बोकेर साम्पाङसहितका सांसदहरू बारम्बार उभिने र नारा लगाउने गर्ने कार्य दोहोरिएपछि सभामुख डोलप्रसाद अर्याल  चिढिए । उनले पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदलाई संसदीय मर्यादा पालन गर्न कडा चेतावनी दिए ।

बुधबारको बैठकमा श्रम संस्कृति पार्टीका ६ जना सांसदले बालेन सरकारले संसदको अवमूल्यन गरेको, संसदीय प्रणालीप्रति वितृष्णा फैलाउने गतिविधि गरिरहेको, सुकुम्बासी र निम्‍न वर्गमाथि राज्य आतंक मच्चाएको र सरकार दमनतर्फ उन्मुख भएको आरोप लगाउँदै प्लेकार्डमार्फत् ध्यानाकर्षण गराए । विराेध लगातार भएपछि सभामुख अर्यालले संसदीय मर्यादा उल्लंघन भएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘हर्कराज राईसहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले सभाको मर्यादाविपरीत प्लेकार्ड देखाउने र अभद्र व्यवहार दोहोर्‍याइरहनुभएको पाइएको छ । प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३० बमोजिम म चेतावनी दिन्छु-आफ्नो व्यवहार सच्याउनुहोस्।’

साम्पाङ भने बालेन सरकारलाई सदनप्रति जवाफदेही बनाउन दबाब दिइरहेका छन् । एक विपक्षी दलका नेताले समेत श्रम संस्कृति पार्टीको विरोध शैलीलाई समर्थन गर्दै नेपालवान एचडीसँग भने, ‘बालेन सरकारले संसदप्रति देखाएको उदासीनता र बहुमतको दम्भ अत्यन्त चिन्ताजनक छ । श्रम संस्कृतिका सांसदहरूको शैली विरोध योग्य छ ।’

यसबीच, अघिल्लो प्रतिनिधि सभामा रास्वपाका सांसदहरूले झनै असंसदीय गतिविधि प्रदर्शन गरेका थिए । निलो स्कार्फ बेरेर सदनमा आउने, कपी हातमै लिएर सभामुखको अगाडि बस्ने र तत्कालीन सभामुख देवराज घिमिरेलाई बैठक सञ्‍चालनमा अवरोध पुर्‍याउनेजस्ता ।

सोही गतिविधिमा सहभागीमध्ये अहिलेका सभामुख डोलप्रसाद अर्याल स्वयं पनि थिए, जसलाई उनीहरूले ‘नयाँ दलको नयाँ अभ्यास’ भनेर बचाउ गर्थे । तर, आज भने उनी नै सभाको मर्यादा जोगाउन कठोर बनेका छन् ।

बुधबार पनि मन्त्रीहरूले दिएका जवाफप्रति श्रम संस्कृति पार्टीका सांसदहरूले चित्त नबुझेको भन्दै निरन्तर आपत्ति जनाए । उठेर विराेध गरे । जुन गतिविधि सभामुख अर्याललाई मन परेन र फेरि व्यवहार सच्याउन रुलिङ गरे । यसपछि सांसद ध्रुव राई आक्राेशित भए र सभामुखतर्फ फर्केर सोधे, ‘के गर्नुहुन्छ ?’

सभामुखले संविधान, संसदीय संस्कृति र प्रतिनिधि सभा नियमावलीको उद्धरण दिंदै संयमित रहन आग्रह गरे । तर, चेतावनीपछि पनि श्रम संस्कृति पार्टीका सांसदहरूको विरोध थामिएन । उनीहरूले बैठक अवधिभरै आफ्ना माग र नारा निरन्तर उठाइरहे ।

संसदमा बढ्दो अवरोध र आक्रोशसँगै आगामी बैठकहरूमा पनि राजनीतिक तनाव झन् बढ्ने संकेत देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घट्यो

एजेन्सी। विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै अन्त्य हुने संकेत दिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेको हो ।

लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुड आयल फ्युचर्स ८८ सेन्ट (०.८ प्रतिशत) ले घटेर प्रतिब्यारेल ११० डलर ४० सेन्टमा पुगेको छ ।

त्यस्तै, अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) पनि ६७ सेन्ट (०.६ प्रतिशत) ले घटेर प्रतिब्यारेल १०३ डलर ४८ सेन्टमा कायम भएको छ ।

भू–राजनीतिक तनाव कम हुने सम्भावना देखिएसँगै लगानीकर्ताहरूले जोखिम प्रिमियम घटाएका कारण तेलको मूल्यमा गिरावट आएको विश्लेषकहरूले बताएका छन् ।

तेल बजार अनुसन्धान संस्था एलएसईजीका वरिष्ठ विश्लेषक इम्रिल जामिलले बजारमा अहिले देखिएको गिरावट अस्थायी हुन सक्ने बताएका छन् ।

उनले भने, ‘लगानीकर्ताहरूले अहिले भू–राजनीतिक परिणामहरू मूल्याङ्कन गरिरहेका छन्, जसले मूल्य अस्थायी रूपमा घटाएको हो । तर सम्झौता भए पनि आपूर्ति तुरुन्तै युद्धपूर्व अवस्थामा फर्किने सम्भावना कम छ, त्यसैले मूल्य फेरि बढ्न सक्छ ।’

पछिल्ला महिनाहरूमा अमेरिका र इरानबिचको तनावले विश्व ऊर्जा बजारमा ठूलो अस्थिरता सिर्जना गरेको थियो । तर अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा प्रगति भएको संकेत दिएपछि बजारमा सकारात्मक प्रतिक्रिया देखिएको हो ।

यसअघि पनि वार्ता प्रगतिको संकेतसँगै मंगलबार नै तेलको मूल्य करिब १ डलरले घटेको थियो ।

विशेषज्ञहरूका अनुसार हालको गिरावट राजनीतिक संकेतका कारण देखिएको हो । तर मध्यपूर्वमा जारी अनिश्चितता कायम रहेसम्म तेल बजारमा उतारचढाव जारी रहने सम्भावना उच्च रहेको छ ।

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले संविधानले दिएको अधिकारलाई सरकारले चाहेर पनि सीमित गर्न नसक्ने स्पष्ट पारे ।

तर स्वतन्त्रतालाई स्वच्छन्दताको रूपमा प्रयोग गर्न नहुने बताउँदै मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रले आफ्नो गरिमा कायम राख्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ । संविधानले दिएको अधिकार हो । तर स्वतन्त्रता भनेको स्वच्छन्दता होइन । जवाफदेही हुनुपर्छ ।’

उनले सञ्चार माध्यमहरू राज्यको महत्वपूर्ण अंग भएकाले आफ्नो ओज र जिम्मेवारी कायम राख्दै काम गर्नुपर्ने सुझाव दिए ।

मन्त्री तिमिल्सिनाले सरकारले प्रेस काउन्सिललाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि काम अघि बढाइएको जानकारी पनि दिए ।

सरकारले विभिन्न संस्था खाली गरेर ‘भ्याकुम बनाएको’ कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले राजनीतिक भागबन्डाका आधारमा विभिन्न संस्थामा भएका नियुक्ति खारेज गर्दा संवेदनशील निकायसमेत प्रभावित भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले विभिन्न संस्था खाली गरेर ‘भ्याकुम बनाएको’ आरोप लगाए ।

उनले भने, ‘सरकारले राजनीतिक भागबन्डाका आधारमा नियुक्त गरेको भन्दै सारा संस्था खाली गरेर भ्याकुम बनाएको छ । यसमा केही संवेदनशील संस्था पनि छन् । जस्तै सत्य तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक सम्बन्धी संक्रमणकालीन न्यायका आयोगका पुराना पदाधिकारीलाई पनि बर्खास्त गरिएको अवस्था हो । ती आयोगहरूलाई छिटो सक्षम र निष्पक्ष व्यक्तिहरू ल्याएर सक्रिय पार्न जरुरी छ ।’

आङ्देम्बेले द्वन्द्व पीडितको न्याय प्रक्रिया लामो समयदेखि ढिलाइ भइरहेको भन्दै अन्तर्राष्ट्रिय चासो पनि बढ्दै गएको बताए ।

उनले भने, ‘संक्रमणकालीन न्याय प्रक्रियाको वस्तुस्थिति बुझ्न संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिवेदक बर्नाड डुवाइमले आगामी जुनमा नेपाल भ्रमण गर्दै छन् भन्ने सुनिन्छ । विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतका फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सन् २०२४ मा टीआरसी ऐनको तेस्रो संशोधन गरिए तापनि अझै धेरै कानुनी कमजोरीहरू बाँकी छन् ।’

उनले नयाँ नियुक्ति गर्नुअघि कानुनी कमजोरी सुधार्न टीआरसी ऐनको चौथो संशोधन आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

नेपालीको टाउकोमा ३० खर्ब ऋण

काठमाडौं । सरकारको सार्वजनिक ऋण झन्डै ३० खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म देशको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ पुगेको हो ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा मात्रै सार्वजनिक ऋण ५ खर्ब ३२ अर्ब ९१ करोड रुपैयाँले बढेको छ । सोही अवधिमा सरकारले २ खर्ब ३१ अर्ब ९२ करोड रुपैयाँ साँवा भुक्तानी गरेपछि कुल ऋणको खुद वृद्धि ३ खर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । वैशाखसम्म आइपुग्दा आन्तरिक ऋण १३ खर्ब ८१ अर्ब २२ करोड रुपैयाँ र बाह्य ऋण १५ खर्ब ९३ अर्ब ८१ करोड रुपैयाँ पुगेको कार्यालयले जनाएको छ ।

यस वर्ष अमेरिकी डलरको मूल्य वृद्धि हुँदा विनिमय दरको प्रभावले बाह्य ऋण थप महँगो बनेको छ । विनिमय दरकै कारण बाह्य ऋण दायित्वमा मात्रै १ खर्ब ६७ अर्ब ७५ करोड रुपैयाँ थपिएको कार्यालयको भनाइ छ ।

चालु आर्थिक वर्षको वैशाखसम्म सरकारले कुल ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ । त्यसमध्ये २ खर्ब ९८ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण र ६६ अर्ब ४९ करोड रुपैयाँ बाह्य ऋण रहेको छ ।

ऋणको साँवा र ब्याज भुक्तानीमा पनि सरकारको ठूलो रकम खर्च भइरहेको छ । १० महिनाको अवधिमा सरकारले कुल २ खर्ब ९२ अर्ब ५२ करोड रुपैयाँ ऋण सेवा खर्च गरेको छ । यसमध्ये २ खर्ब ३१ अर्ब ९२ करोड रुपैयाँ साँवा भुक्तानी र ६० अर्ब ५९ करोड रुपैयाँ ब्याज भुक्तानीमा खर्च भएको हो ।

आन्तरिक ऋणतर्फ सरकारले १ खर्ब ८५ अर्ब ६६ करोड रुपैयाँ साँवा र ५० अर्ब ५२ करोड रुपैयाँ ब्याज तिरेको छ । बाह्य ऋणतर्फ ४६ अर्ब २५ करोड रुपैयाँ साँवा तथा १० अर्ब ६ करोड रुपैयाँ ब्याज भुक्तानी गरिएको छ ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो सात वर्षमा नेपालको सार्वजनिक ऋण झन्डै दोब्बर भएको छ । आर्थिक वर्ष २०७६/७७ सम्म १४ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ रहेको सार्वजनिक ऋण अहिले बढेर झन्डै ३० खर्ब रुपैयाँ पुगेको छ ।

जेन-जी सहिदकी सांसद आमा रचनाकाे माग- शहीदकाे शालिक निर्माण गर्नुपर्‍याे

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले संसद् भवन अगाडि ‘जेनजी सहिद’को सालिक निर्माण यथाशीघ्र सुरु गर्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै उनले सहिदहरूको बलिदान र घाइतेहरूको पीडालाई केवल सम्मानका रूपमा नभई व्यवहारिक रूपमा पनि सम्बोधन गर्नुपर्ने बताइन् ।

सांसद खत्रीले भनिन्, ‘सहिदको बलिदान र घाइतेको पीडालाई केवल सम्मान मात्रै होइन, व्यवहारिक रूपमा पनि न्याय दिन सरकारसँग आग्रह गर्दछु ।’

उनले संसद् भवन अगाडि सहिद सालिक निर्माण प्रक्रिया तत्काल अघि बढाउनुपर्नेमा जोड दिइन् ।

रास्वपा सांसद पराजुली : सरकारले अरनिको राजमार्ग क्षेत्रमा डोजर आतंक मच्चायो

काठमाडौं । रास्वपाका सांसद भरत पराजुलीले अरनिको राजमार्ग निर्माणका क्रममा सडक र नाला बनेको बाहेकका जग्गाको लगत अझैसम्म कट्टा नगरिएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सडक सीमाका दायाँ-बायाँका जग्गा नागरिककै नाममा कायम रहेको र उनीहरूले अझै भूमिकर तिरिरहेको बताए ।

उनले भने, ‘राजमार्गको दोलालघाट, सुकुटे, बलेफी, अँधेरी, खाडीचौर, लामोसाँघु, बाह्रबिसे र तातोपानी क्षेत्रमा राजमार्ग निर्माणसँगै बजार विकास भई आर्थिक कारोबारका केन्द्रका रूपमा यी क्षेत्रले जनतालाई सेवा दिइरहेका छन् । बजारका अधिकांश घरहरू पुस्तान्तरण भएर स्वामित्व हस्तान्तरण भएका हुन् । अझै अतिक्रमण भएका होइनन् ।’

सांसद पराजुलीले स्थानीय तहले संघीय सरकारको निर्देशन भन्दै डोजर चलाएर नागरिकलाई त्रसित बनाएको आरोप लगाए ।

उनले भने, ‘यसखालको स्थानीय सरकारको निर्णयबाट नागरिकको संविधान प्रदत्त सम्पत्तिसम्बन्धी हकको हनन हुने अवस्था आएको छ । रणनीतिक राजमार्ग भएकाले यसको विस्तार र स्तरोन्नति हुनुपर्छ । यसमा नागरिकहरूको पूर्ण सहयोग रहन्छ ।’

हर्कले सभामुखलाई स्मरण गराएको नियमावली १५ (२) मा के छ ?

काठमाडौं। बुधबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्ड देखाउँदै विरोध जनाएका छन् ।

पार्टी अध्यक्ष एवं सांसद हर्कराज राईले सरकार संसदप्रति जवाफदेही बन्नुपर्ने माग राख्दै विरोध जनाएका थिए ।

विरोधका क्रममा सभामुख डोलप्रसाद अर्यालले राईलाई अमर्यादित व्यवहार नगर्न चेतावनी दिएका थिए । तर राईले बोलिरहेपछि सभामुख अर्यालले अन्ततः उनलाई समय दिएका थिए ।

राईले प्रधानमन्त्री र मन्त्रीहरूले संसदमा उठेका प्रश्नहरूको जवाफ नदिएको भन्दै प्रतिनिधिसभा नियमावली–२०७९ को नियम १५ को उपनियम (२) स्मरण गराएका थिए ।

उनले संसदमा उठाइएका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था कार्यान्वयन नभएको गुनासो गरेका थिए ।

प्रतिनिधिसभा नियमावली–२०७९ को नियम १५ (२) मा शून्य र विशेष समयमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा जवाफ दिनुपर्ने व्यवस्था रहेको छ ।

प्रतिनिधिसभा नियमावली–२०७९ को नियम १५ (२) पढ्नुहोस् :

‘पुराना दललाई अमानवीय व्यवहार भइरहेको छ’ : एमाले

काठमाडौं। एमाले सांसद एशुदाकुमारी बरालले सत्तापक्षबाट आफूहरूमाथि अमानवीय र अशिष्ट व्यवहार भइरहेको टिप्पणी गरेकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पुराना दलका सांसदलाई पटक-पटक अपमानजनक व्यवहार गरिएको बताइन् ।

उनले भनिन्, ‘पुराना दलहरूलाई घरिघरी अशिष्ट व्यवहार, अमानवीय व्यवहार गरिरहनुभएको छ ।’

बरालले आफूहरू संसद्मा वादविवाद गर्न नभई जनताको आवाज उठाउन आएको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘हामी वादविवाद गर्न आएका होइनौँ । तपाईं बसेको र हाम्रो कुर्सी बराबर हो । २७५ जनताको आवाज बोल्न आएका हौँ । प्रतिस्पर्धा र वादविवाद गर्न आएका होइनौँ ।’

उनले ‘पुराना सांसदले केही गरेनन्’, ‘सदन गन्हायो’ जस्ता अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पनि माग गरिन् ।

सभामुखले विपक्षी दलका अभिव्यक्तिमा मात्रै ध्यानाकर्षण गराउने तर सत्तापक्षका सांसदले बोलेका विषयमा मौन बस्ने गरेको आरोप पनि उनले लगाइन् ।

बरालले भनिन्, ‘विपक्षी दलले भनेको शब्द तत्काल सभामुखज्यूको ध्यानाकर्षण हुन्छ भने सत्तापक्षका माननीयज्यूले बोलेका कुरा ध्यानाकर्षण भएका छैनन् । ध्यानाकर्षण होस् ।’

एमालेको प्रश्न – दैनिक एक सयका दरले कसरी एउटा परिवार काठमाडौंमा बाँच्न सक्छ ?

काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले उपत्यकासहित विभिन्न स्थानबाट हटाइएका सुकुम्बासीमाथि सरकारले अमानवीय व्यवहार गरिरहेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले स्थायी बसोबासको व्यवस्था नगरी सुकुम्बासीलाई उठीबास लगाइएको बताएका हुन् ।

उनले भने, ‘हिजो मात्रै नेपाल सरकारले गम्भीर त्रुटि गरेको छ । दिगो बसोबासको व्यवस्था नगरी सुकुम्बासीलाई उठीबास लगाएको छ ।’

सरकारले जेठ, असार र साउन महिनाका लागि प्रत्येक परिवारलाई १५/१५ हजार रुपैयाँ दिने निर्णय व्यावहारिक नभएको उनको भनाइ थियो ।

बरालले प्रश्न गरे, ‘यसरी दैनिक एक सयका दरले कसरी एउटा परिवार काठमाडौंमा बाँच्न सक्छ ?’

उनले सुकुम्बासीमाथि अमानवीय हमला गरिएको दाबी गर्दै अस्थायी बसोबासस्थलबाट बलजफ्ती निकालिएको तथा होल्डिङ सेन्टरमा समेत अमानवीय व्यवहार भएको बताए ।

सांसद बरालले पुनर्स्थापनाका नाममा २५ हजार रुपैयाँ दिने निर्णय पनि हचुवाका भरमा गरिएको भन्दै त्यसले सुकुम्बासीलाई झन् समस्यामा पार्ने टिप्पणी गरे ।

उनका अनुसार सरकारको वर्तमान व्यवहारका कारण समस्यामा परेका सुकुम्बासी झन् अपमानित हुँदै गएका छन् ।

एक संयुक्त कारबाहीमा १७५ लडाकु मारिएको दाबी

काठमाडौँ। इस्लामिक स्टेट दक्षिण अफ्रिका प्रदेश तथा इस्लामिक स्टेटविरुद्ध नाइजेरिया र अमेरिकाले सञ्चालन गरेको संयुक्त सैन्य अभियानमा १७५ जना लडाकु मारिएको दाबी गरिएको छ । नाइजेरियाली सेनाले उक्त कारबाहीलाई आतंकवादविरुद्धको निर्णायक अभियानका रूपमा व्याख्या गर्दै अमेरिकी सहकार्यको खुलेर प्रशंसा गरेको छ ।

नाइजेरियाको रक्षा मुख्यालयका अनुसार अमेरिकी सेनाको अफ्रिका कमान्ड (अफ्रिकम) सँगको सहकार्यमा गरिएको हवाई तथा स्थल आक्रमणमा आईएसआईएलसँग सम्बन्धित चेकपोस्ट, हतियार भण्डारण केन्द्र, रसद आपूर्ति संरचना, सैन्य सामग्री र आर्थिक सञ्जाललाई लक्षित गरिएको थियो ।

रक्षा प्रवक्ता मेजर जनरल समाइला उबाले मङ्गलबार सार्वजनिक गरेको विवरणमा मे १९, २०२६ सम्मको अभियानमा १७५ आतंकवादी मारिएको उल्लेख छ । उनका अनुसार उक्त कारबाहीले लामो समयदेखि सक्रिय चरमपन्थी समूहहरूलाई गम्भीर क्षति पुर्‍याएको छ ।

संयुक्त अपरेसनमा आईएसआईएसका विश्वव्यापी दोस्रो कमान्डर मानिएका अबु बिलाल अल मिनुकी पनि मारिएको दाबी गरिएको छ । ‘अबु माइनोक’ नामले चिनिने उनी साहेल र पश्चिम अफ्रिकाभर आईएसआईएसको आर्थिक, प्रचार तथा सैन्य गतिविधि समन्वय गर्ने प्रमुख व्यक्तिका रूपमा परिचित थिए ।

नाइजेरियाली सेनाले आईएसडब्लुएपीका अन्य वरिष्ठ सदस्य अब्द–अल वहाब, अबु मुसा अल मंगावी र अबु अलमुथान्ना अलमुहाजिर पनि सोही कारबाहीमा मारिएको जनाएको छ । उनीहरू संगठनको सञ्चार, प्रचार र आक्रमण योजनामा सक्रिय रहेको बताइएको छ ।

नाइजेरियाका राष्ट्रपति बोला अहमद तिनुबूले सामाजिक सञ्जालमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति समर्थन र सहकार्यका लागि आभार व्यक्त गरेका छन् । उनले अभियानमा सहभागी सैनिकहरूको साहस र व्यावसायिक क्षमताको प्रशंसा गर्दै आतंकवादी अड्डाविरुद्ध थप प्रभावकारी कारबाही जारी रहने संकेत दिएका छन् ।

विश्लेषकहरूले पश्चिम एसियामा लगातार कमजोर बन्दै गएको आईएसआईएलले पछिल्लो समय आफ्नो प्रभाव अफ्रिकातर्फ विस्तार गर्न खोजिरहेको बताएका छन् । द्वन्द्व निगरानी संस्था (एक्लेड) का अनुसार सन् २०२६ को पहिलो तीन महिनामा आईएसआईएसका विश्वव्यापी गतिविधिमध्ये ८६ प्रतिशत अफ्रिकामै केन्द्रित थिए ।

विशेषगरी ताल चाड बेसिन क्षेत्र लामो समयदेखि हिंसात्मक गतिविधिको केन्द्र बन्दै आएको छ । त्यहाँ बोको हराम  र आईएसडब्लुएपीजस्ता समूहले निरन्तर आक्रमण र विद्रोही गतिविधि सञ्चालन गर्दै आएका छन् ।

(अन्तराष्ट्रिय संचारमाध्यमको सहयोगमा तयार पारिएको)

मधेसमा भागबण्डाको तयारीमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं । मधेश प्रदेश सरकारमा अब नेकपा एमाले पनि सहभागी हुने भएको छ । कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको एमाले हालसम्म सरकारबाहिर रहे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरूसँग गरेको छलफलपछि सरकारमा सहभागी हुने लगभग निश्चित भएको हो ।

सत्ता समीकरणअनुसार कांग्रेस, एमाले र नेकपाबीच मधेशबाहेक अन्य ६ प्रदेशमा नेतृत्व र मन्त्रालय भागबन्डाको तयारी भइरहेको छ । मधेशमा भने जनता समाजवादी पार्टीलाई समेत सरकारमा समेट्ने विषयमा छलफल जारी रहेको बताइएको छ । हाल मधेश प्रदेश सरकारको नेतृत्व कांग्रेसका कृष्णप्रसाद यादवले गरिरहेका छन् ।

सहमतिको प्रारम्भिक खाकाअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित चार मन्त्रालय राख्नेछ भने जसपा, नेकपा र जनमत पार्टीले पनि विभिन्न मन्त्रालय पाउनेछन् । जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि उसका दुई मन्त्री अझै सरकारमै कायम छन् ।

केन्द्रमा शीर्ष तहमा बनेको नयाँ समझदारीपछि अब प्रदेश सरकार पुनर्गठनको प्रक्रिया तीव्र हुने संकेत देखिएको छ ।

हाल मधेश प्रदेशसभामा १०२ सदस्य कायम छन् । कांग्रेसका २२, एमालेका २४, जनमतका १२, नेकपाका १५ तथा जसपा र लोसपा नेपालका संयुक्त रूपमा २६ सांसद छन् । यस्तै नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र राप्रपाका १-१ जना सांसद रहेका छन् ।

यसअघि प्रदेशसभामा १०७ सदस्य रहेकामा लोसपाका अभिराम शर्मा र जसपाका सरोजसिंह कुशवाहा निलम्बनमा छन् । जनमतका सतिशकुमार सिंह तथा नेकपाका भरतप्रसाद साह र रहवर अन्सारी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए ।

उता, मधेशमा एमाले सरकारमा सहभागी हुने तयारी भइरहँदा सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले पाउने सम्भावना बलियो बन्दै गएको छ । कांग्रेसले चार प्रदेशमा दाबी कायम राखे पनि अन्ततः कांग्रेस र एमालेले समान ३-३ प्रदेश तथा नेकपाले १ प्रदेशको नेतृत्व गर्ने गरी सहमति जुट्ने सम्भावना रहेको उच्च स्रोतले जनाएको छ ।

कांग्रेसले मधेशसँगै हाल एमाले नेतृत्वमा रहेको लुम्बिनी प्रदेशमा पनि दाबी गरेको छ । एमाले नेतृत्वकै कोशी र कर्णाली प्रदेशमध्ये एक प्रदेश कांग्रेसले पाउने सम्भावना बढेको बताइन्छ ।

एमालेले बागमती, कर्णाली र गण्डकी प्रदेशको नेतृत्व लिन सक्ने चर्चा चलिरहँदा नेकपा संयोजक पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशको नेतृत्वमा दाबी गरेका छन् ।

हर्कले भने – सहकारी पीडितलाई फिर्ता गरेको रकमको स्रोत के हो ?

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले संसदमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति खोजेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोलप्रसाद आर्यालले साम्पाङलाई बोल्न समय दिएका थिए ।

समय लिएर बोल्दै साम्पाङले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने बताए ।

उनले भने, ‘सीमा नाकाको कुरा, महँगी नियन्त्रण, सहकारी पीडितलाई रकम फिर्ताको स्रोत के हो ? सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित प्रश्नहरू राख्न खोजेका छौँ ।’

साम्पाङले जनताप्रति उत्तरदायी हुनुपर्ने सदनमा सरकारका प्रतिनिधि उपस्थित हुनुपर्ने बताए ।

उनले भने, ‘५/६ वटा प्रश्न हामी सोध्न चाहान्छौँ । प्रश्नबाट भाग्ने उहाँहरूको चलनप्रति हाम्रो घोर आपत्ति छ ।’

प्लेकार्ड देखाएपछि, हर्कको दललाई सभामुखले दिए चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्डसहित विरोध जनाएपछि सभामुख डीपी अर्यालले ‘अभद्र व्यवहार’ नगर्न चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध जनाएपछि सभामुख अर्यालले संसद्को मर्यादा कायम राख्न सबै सांसद जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

उनले प्रतिनिधिसभाको गरिमा र नियम पालना गर्न आग्रह गर्दै बैठकको वातावरण मर्यादित बनाउन ध्यानाकर्षण गराए ।

सभामुख अर्यालले हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका थिए ।

हामीले दु:ख गरेर पैँसा कमाएको हो, पुराना नेतालाई छानबिन गर : सुधन गुरुङ

काठमाडौं । आफूले दु:ख गरेर पैँसा कमाएको भन्दै पूर्वगृहमन्त्री सुधन गुरुङले पुराना पार्टीका नेताहरुलाई छानबिन गर्न माग गरेका छन्। उनले मुलुकको आर्थिक संकट र राजनीतिक विकृतिका लागि जिम्मेवार व्यक्तिहरूको सम्पत्तिमाथि छानबिन हुनुपर्ने बताएका हुन् । उनले वर्षौँदेखि सत्तामा बसेर अकुत सम्पत्ति आर्जन गर्नेहरूको आयस्रोत खोजिनुपर्नेमा जोड दिएका छन्।

देशलाई कमजोर बनाउने र राज्यको स्रोत दोहन गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गर्दै उनले वास्तविक दोषीमाथि अनुसन्धान नगरी सर्वसाधारणमाथि प्रश्न उठाउनु उचित नहुने धारणा राखे।

गुरुङले आफूहरू श्रम र संघर्षबाट स्थापित भएको दाबी गरे। उनले आफ्नो सम्पत्ति पारदर्शी रहेको बताएका हुन् । सानैदेखि दुःख, मेहनत र पसिनाको कमाइबाट यहाँसम्म पुगेको उल्लेख गर्दै उनले देशमा सकारात्मक परिवर्तनको अपेक्षासहित राजनीतिमा आएको बताए।

साथै, आफूहरूमाथि प्रश्न उठाउने केही व्यक्तिहरू नै गलत प्रवृत्तिबाट लाभ लिइरहेको आरोप लगाउँदै उनले त्यस्ता व्यक्तिहरूमा सत्य बोल्ने नैतिक साहसको अभाव रहेको टिप्पणी गरे।

देशको वर्तमान आर्थिक र राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले वास्तविक रूपमा मुलुकलाई क्षति पुर्‍याउनेहरूलाई उन्मुक्ति दिन नहुने बताएका छन्। आफू कुनै डर वा दबाबबिना देश सेवामा लागेको उल्लेख गर्दै उनले राज्यका स्रोत दोहन गरेर सम्पत्ति जोड्नेहरूको निष्पक्ष छानबिन हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

संसदमा आजपनि श्रम संस्कृति पार्टीको विरोध

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसदहरुले बुधवार पनि संसदमा विरोध जनाएका छन्।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्लेड कार्ड देखाउँदै अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन्।

दलका नेता साम्पाङलाई सभामुखले बोल्न समय दिए।

उनले सभामुखलाई  नियमावलीको नियम १५ को नियम पालना गराउनुभयो ? भनेर प्रश्न गरे ।

नेपाल २ विकेटले विजयी

काठमाडौं । मलेसियाविरुद्धको पहिलो टी-२० खेलमा नेपाली महिला टोलीले संघर्षपूर्ण २ विकेटको जित निकालेको छ । मलेसियाको बुयनास ओभलमा भएको खेलमा सामान्य ६८ रनको लक्ष्य पछ्याउँदा पनि नेपालले निकै दबाब झेल्नुपरेको थियो ।

नेपालका लागि ओपनर सम्झना खड्काले मात्रै जिम्मेवार ब्याटिङ गरिन् । अन्य ब्याटरहरू लगातार आउट भइरहँदा उनले एक छेउ सम्हालिरहिन् । तर जित नजिक पुग्दै गर्दा उनी पनि धैर्यता गुमाएर आउट भइन् । नेपाललाई जितका लागि ७ रन आवश्यक रहेको अवस्थामा आठौं विकेटका रूपमा आउट भएकी सम्झनाले ३९ बलमा ३२ रन बनाइन् ।

त्यसपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । नवौं नम्बरमा मैदान उत्रिएकी कविता जोशीले लगातार दुई आक्रामक प्रहार गर्दै स्कोर बराबरीमा पुर्‍याइन् । अन्ततः रिया शर्माले १७.३ ओभरमा चौका प्रहार गर्दै नेपाललाई रोमाञ्चक जित दिलाइन् ।

यसअघि टस जितेर पहिले बलिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै मलेसियालाई ६७ रनमै सीमित गरेको थियो । नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् भने रिया शर्मा र मनिषा उपाध्यायले समान २–२ विकेट हात पारे । मलेसियाका ब्याटरमध्ये एक जनाले मात्रै दोहोरो अंकमा रन बनाउन सफल भइन् ।

नेपालले एसियन गेम्स महिला टी-२० क्वालिफायरको तयारीस्वरूप मलेसियासँग दुई खेलको टी-२० सिरिज खेलिरहेको हो ।

साँगा चोकमा अण्डरपास,यसरी बन्दै छ ? [तस्वीरहरू]

काठमाडौं। काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख पूर्वीनाका साँगामा निर्माण भइरहेको अण्डरपासले तीव्रता पाएको छ ।

अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गत भक्तपुर र काभ्रेपलाञ्चोकको सीमास्थित साँगामा अण्डरपास निर्माण कार्य भइरहेको हो ।
हाल सूर्यविनायक–धुलिखेल सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । साँगा क्षेत्रमा अग्लो पहाड भएकाले सडकलाई तलमाथि छुट्टाछुट्टै दुई/दुई लेनमा निर्माण गरिएको छ । यसअन्तर्गत काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनका लागि बाँयातर्फ दुई लेनको एकतर्फी अण्डरपास निर्माण भइरहेको छ ।
आयोजनाका अनुसार साँगा क्षेत्रमा भक्तपुरबाट बाहिरिने क्रममा सवारीसाधनले लामो उकालो पार गर्नुपर्ने समस्या रहेकाले यात्रालाई सहज बनाउन अण्डरपास निर्माण गरिएको हो । साथै, साँगाचोकमा सवारी आवागमनलाई व्यवस्थित र निर्वाध बनाउने उद्देश्यसमेत रहेको जनाइएको छ ।
अण्डरपासको कुल लम्बाइ एक हजार ११० मिटर रहेको छ । यसमध्ये २० मिटर पुल, बनेपातर्फ १९० मिटर तथा भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक निर्माण भइरहेको छ । अण्डरपासको उचाइ ६ मिटर र चौडाइ साढे १० मिटर रहनेछ ।
हालसम्म अण्डरपास निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले बताएको छ । अन्डरपासको मुख्य संरचना र एप्रोच सडक निर्माण सम्पन्न भइसकेको छ भने अहिले साइड शेयरवाल र पेभमेन्ट सतहको काम अन्तिम चरणमा पुगेको छ ।
निर्माण सम्पन्न भएपछि भक्तपुरबाट बनेपातर्फ जाने सवारीसाधन अण्डरपासमार्फत सञ्चालन हुनेछन् भने बनेपाबाट भक्तपुर आउने सवारीसाधन माथिल्लो सडकमार्ग प्रयोग गर्नेछन् ।
अण्डरपास निर्माण कार्य सूर्यविनायक-साँगा सडक खण्डको ठेक्का पाएको निर्माण कम्पनीले नै गरिरहेको हो ।

विवादबीच प्रधानन्यायाधीश नियुक्तिपछि वरिष्ठतम् न्यायाधीश मल्ल २० दिन बिदामा

काठमाडौं । वरिष्ठता, विधि र परम्परा मिचेर वरियतामा चौथो स्थानमा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाएपछि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छन् ।

उनी २० दिनका लागि बिदामा बसेकी हुन् । सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उनी आफैंले स्वीकृत गरेर बिदा बसेकी हुन् ।

शर्माले मंगलबार प्रधानन्यायाधीश नियुक्त भएर पदभारसमेत ग्रहण गरिसकेका छन् । जबकि, मल्ल स्थापित विधि, परम्परा र वरिष्ठताका आधारमा प्रधानन्यायाधीश हुने अवस्थामा थिइन् ।

तर, संवैधानिक परिषदमार्फत् प्रधानमन्त्री बालेन्द्र शाहले बहुमतका आधारमा शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेका थिए । लगत्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत शर्मालाई प्रधानन्यायाधीशमा प्रस्ताव गर्ने परिषदको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च पुगेका थिए ।

तर, शर्मापक्षीय अदालतका मुख्य रजिस्ट्रार, रजिस्ट्रारहरूले रिट दरपिठ गरे । यद्यपि, कायममुकायम प्रधानन्याधीश मल्लले रिट दर्ता गर्न आदेश दिइन्, जुन कार्यान्वयन गर्न सर्वोच्च प्रशासन तयार भएन ।

यसबीचमा मंगलबार शर्माले प्रधानन्यायाधीशको पदभार ग्रहण गरेपछि मल्ल बिदा बस्ने निर्णयमा पुगेकी हुन् । यो घटनालाई लिएर नेपाल बार एसोसिएसन आन्दोलित भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरू दुई खेमामा विभक्त भएका छन् । यसले न्यायिक वातावरण निर्माण गरेर सर्वोच्च हाँक्न शर्मालाई चुनौतीपूर्ण देखिएको छ ।

वरिष्ठता विवादबाट आएका प्रधानन्यायाधीश शर्मासामु विश्वासको संकट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले वरिष्ठता मिच्दै स्थापित परम्परा र विधि पनि मिचेर अघि सारेका प्रधानन्यायाधीश मनोजकुमार शर्माले मंगलबार पदभार सम्हालेका छन् । तर, उनले सम्हालेको यो जिम्मेवारी सहज देखिएको छैन ।

सर्वोच्च अदालतभित्र बढ्दो ध्रुवीकरण, वरिष्ठता विवाद, नेपाल बार एसोसिएसनको विरोध, न्यायपालिकामाथि खस्कँदो जनविश्वास र राजनीतिक दबाबका बीच शर्माले अब चुनौतीपूर्ण कार्यकालको सामना गर्नुपर्ने अवस्था बनेको छ ।

उनको नेतृत्वको सुरुवात नै विवादबाट भएको छ । प्रधानन्यायाधीशमा सिफारिस भएपछि संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न खोजिएको थियो ।

तर, अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गर्‍यो । पछि कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले रिट दर्ता गर्न आदेश दिएको अभिलेख सार्वजनिक भएपछि सर्वोच्च अदालतभित्रको विवाद सतहमा आएको थियो ।

मुख्य रजिस्ट्रार विमल पौडेलले शर्माकै निर्देशनमा रिट दर्ता नगरिएको जवाफ दिएको चर्चा भएपछि विवाद झन् चर्कियो । यद्यपि शर्माले संसदीय सुनुवाइका क्रममा यसलाई प्रशासनिक विषय भन्दै आफू प्रत्यक्ष संलग्न नरहेको दाबी गरेका थिए ।

यही घटनाले अहिले शर्मासामु सबैभन्दा ठूलो चुनौती न्यायपालिकाभित्र विश्वास पुनःस्थापित गर्नु बनेको छ । विशेषगरी आफ्नै सहकर्मी न्यायाधीशहरूसँग सम्बन्ध सुधार गर्नु उनका लागि पहिलो परीक्षा मानिएको छ ।

संवैधानिक परिषद्ले उनीभन्दा वरिष्ठ न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई पछि पार्दै शर्माको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । त्यसपछि सर्वोच्च अदालतभित्र असन्तुष्टि बढेको हो । न्यायिक वृत्तमा अहिले सर्वोच्च अदालत दुई धारमा विभाजित भएको चर्चा छ ।

एक पक्षले संवैधानिक प्रक्रिया पूरा भइसकेपछि संस्थागत स्थायित्वतर्फ जानुपर्ने धारणा राखेको छ भने अर्को पक्षले वरिष्ठता प्रणाली तोडेर न्यायपालिकामा गलत नजिर बसालिएको ठानिरहेको छ ।

विशेषगरी सपना प्रधान मल्लसँगको सम्बन्धलाई धेरैले अर्थपूर्ण रूपमा हेरिरहेका छन् । मल्लले खुला रूपमा विरोध नगरे पनि उनको आदेश कार्यान्वयन नभएको घटनाले सर्वोच्च अदालतभित्रको शक्ति संघर्ष सार्वजनिक गरिसकेको छ ।

यसले आगामी दिनमा सर्वोच्च अदालतभित्र सहकार्यको वातावरण कसरी निर्माण हुन्छ भन्ने प्रश्न उठाएको छ । शर्माले चाँडै फुलकोर्ट बैठक बोलाएर सबै न्यायाधीशसँग संवाद गर्न सक्ने चर्चा भए पनि वरिष्ठ न्यायाधीशहरू त्यसमा सहभागी हुन्छन् वा हुँदैनन् भन्ने अन्योल कायम छ ।

वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठका अनुसार यदि वरिष्ठ न्यायाधीशहरूले दूरी कायम राखे भने प्रधानन्यायाधीश शर्माको अधिकार औपचारिक मात्र देखिने अवस्था आउन सक्छ । त्यसैले न्यायालयभित्रको अविश्वास हटाउनु उनको तत्कालीन प्राथमिकता बन्ने देखिएको छ ।

शर्मासामु अर्को ठूलो चुनौती नेपाल बार एसोसिएसनसँगको सम्बन्ध हो । बारले उनको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै आन्दोलन सुरु गरिसकेको छ । सर्वोच्च अदालत परिसरमै वकिलहरूले लालटिन बालेर सांकेतिक विरोध जनाएका छन् ।

बार पदाधिकारीहरूले न्यायालयमा राजनीतिक हस्तक्षेप बढेको आरोप लगाउँदै न्यायिक स्वतन्त्रता जोगाउन आन्दोलन आवश्यक परेको बताएका छन् । नेपालको न्यायिक इतिहास हेर्दा बारको असन्तुष्टिले गम्भीर संस्थागत संकट निम्त्याएको उदाहरण छ ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध  नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरूले संयुक्त आन्दोलन चलाएका थिए । अन्ततः त्यही आन्दोलनले उनलाई निलम्बन र महाअभियोगसम्म पुर्‍याएको थियो । त्यसैले बारसँगको टकराव बढ्नु शर्माका लागि जोखिमपूर्ण हुन सक्ने कानुन व्यवसायीहरूको बुझाइ छ ।

यससँगै गोलाप्रथा प्रणाली पनि शर्माको कार्यकालको संवेदनशील विषय बन्ने देखिएको छ । २०७८ सालपछि सर्वोच्च अदालतमा पेसी व्यवस्थापनका लागि लागू गरिएको गोलाप्रथालाई न्यायिक पारदर्शिता कायम गर्ने माध्यमका रूपमा हेरिएको थियो ।

तर, सर्वोच्च अदालतभित्र बढ्दो शक्ति संघर्षका कारण गोलाप्रथालाई लिएर नयाँ विवाद उत्पन्न हुन सक्ने आशंका व्यक्त हुन थालेको छ । यदि वरिष्ठ न्यायाधीशहरूसँग असहयोगको अवस्था बढ्यो भने इजलास व्यवस्थापनमा प्रधानन्यायाधीशको प्रत्यक्ष हस्तक्षेप बढ्न सक्ने डर कानुन व्यवसायीहरूले व्यक्त गरेका छन् ।

त्यसो भए सर्वोच्च अदालत फेरि पुरानै विवादतर्फ फर्किन सक्ने चेतावनी दिइएको छ । गोलाप्रथा हटाएर इजलास तोक्ने अधिकार प्रधानन्यायाधीशले प्रयोग गर्न थाले बार र न्यायाधीशहरू फेरि आन्दोलनमा उत्रिन सक्ने जोखिम देखिएको छ ।

शर्माको अर्को महत्वपूर्ण चुनौती न्यायपालिकामाथिको जनविश्वास कायम राख्नु हुनेछ । पछिल्ला केही वर्षयता सर्वोच्च अदालत संवैधानिक इजलास, राजनीतिक नियुक्ति र संवेदनशील मुद्दाका कारण निरन्तर विवादमा तानिँदै आएको छ ।

यस्तो अवस्थामा वरिष्ठता विवादबाट आएका प्रधानन्यायाधीश शर्माले गरेका हरेक निर्णय विशेष निगरानीमा पर्ने देखिन्छ । न्यायिक नियुक्ति, इजलास गठन, संवेदनशील मुद्दाको सुनुवाइ र प्रशासनिक निर्णय सबै विवादको केन्द्र बन्न सक्ने अवस्था छ ।

उनको कार्यकालमा न्याय परिषद्को भूमिका पनि महत्वपूर्ण रहनेछ । सपना प्रधान मल्ल न्याय परिषद्को सदस्य रहने भएकाले परिषद्भित्र पनि शक्ति संघर्ष देखिन सक्ने आकलन गरिएको छ । न्यायाधीश नियुक्ति, सरुवा र अनुशासनसम्बन्धी निर्णयमा सहमति जुटाउन नसके न्यायिक प्रशासन प्रभावित हुन सक्छ ।

राजनीतिक रूपमा पनि शर्माको कार्यकाल चुनौतीपूर्ण देखिएको छ । उनको नियुक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीच फरक धारणा छ । संवैधानिक परिषद्ले अध्यादेशमार्फत प्रक्रिया अघि बढाएर निर्णय गरेको विषयमा आलोचना भइरहेको छ ।

त्यसमाथि, उनी रास्वपा सभापति रवि लामिछानेकाका विश्वासपात्र रहेको चर्चा राजनीतिक वृत्तमा भइरहेका कारण उनीमाथि थप संशय व्यक्त हुन थालेको छ ।

मातहतका अदालतमा विचाराधीन रहेका रवि लामिछानेसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको भूमिकालाई लिएर आगामी दिनमा थप बहस र निगरानी हुने देखिएको छ ।

२०७६ सालमा एकैपटक सर्वोच्च अदालतको न्यायाधीश बनेका शर्माले अब करिब ६ वर्ष न्यायपालिकाको नेतृत्व गर्नेछन् । यो अवधिमा उनले न्यायपालिका एकताबद्ध बनाउने कि थप विभाजित गर्ने भन्ने प्रश्नको उत्तर पनि दिनुपर्नेछ ।

अहिले सर्वोच्च अदालतको नियमित कामकाज सामान्य रूपमा चलिरहेको दाबी गरिए पनि भित्री रूपमा असन्तोष र अविश्वास गहिरो रहेको चर्चा न्यायिक वृत्तमा छ । त्यसैले प्रधानन्यायाधीश शर्माको वास्तविक चुनौती पद सम्हाल्नु मात्र होइन, न्यायालयभित्रको संकट व्यवस्थापन गर्नु पनि हुनेछ ।

ब्राजिलको विश्वकप टोली घोषणा : फर्किए नेयमार 

काठमाडौं। विश्व फुटबलका सबैभन्दा सफल राष्ट्रमध्ये एक मानिने ब्राजिलले आगामी विश्वकपका लागि आफ्नो २६ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले सार्वजनिक गरेको टोलीमा सबैभन्दा बढी चर्चा ब्राजिलका स्टार फरवार्ड नेयमारको पुनरागमनलाई लिएर भइरहेको छ।

लामो समय चोटका कारण राष्ट्रिय टोलीबाट बाहिर रहेका नेयमार पुनः टोलीमा फर्किएपछि ब्राजिल समर्थकमाझ नयाँ उत्साह थपिएको छ।

रियो दि जेनेरियोमा आयोजित विशेष कार्यक्रममा टोली घोषणा गरिएको थियो। टोली सार्वजनिक हुनेबित्तिकै समर्थकहरूको ध्यान नेयमारतर्फ केन्द्रित भएको हो । उनको नाम घोषणा हुँदा उपस्थित समर्थकहरूले ठूलो ताली र उत्साहका साथ स्वागत गरेका थिए।

पछिल्ला केही वर्ष चोट र फिटनेस समस्याले प्रभावित बनेका नेयमारको पुनरागमनलाई ब्राजिलियन फुटबलका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।

३४ वर्षीय नेयमार हाल ब्राजिलियन क्लब सान्तोसबाट खेलिरहेका छन्। किशोर अवस्थामै विश्व फुटबलमा चर्चित बनेका उनले बार्सिलोना, पेरिस सेन्ट-जर्मेन जस्ता ठूला क्लबबाट समेत खेलिसकेका छन्।राष्ट्रिय टोलीका लागि उनले १२८ खेलमा ७९ गोल गर्दै ब्राजिलका सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान बनाएका छन्। 

पेलेको ऐतिहासिक गोल कीर्तिमान तोडेपछि नेयमार ब्राजिलियन फुटबल इतिहासकै सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एकका रूपमा स्थापित भएका छन्।

तर पछिल्ला वर्षहरू नेयमारका लागि सहज रहेनन्। लगातारको चोटका कारण उनले धेरै महत्वपूर्ण खेल गुमाए। विशेष गरी सन् २०२३ पछि उनी राष्ट्रिय टोलीबाट बाहिर थिए।

घुँडाको चोटपछि लामो पुनःस्थापना प्रक्रियाबाट गुज्रिएका नेयमारले क्लब फुटबलमा पुनरागमन गरेपछि मात्रै राष्ट्रिय टोलीमा फर्किने बाटो खुलेको हो। 

प्रशिक्षक एन्सेलोटीले पनि टोली घोषणा गर्दै नेयमारको फिटनेस र खेल लयमा सुधार आएको बताएका थिए।

एन्सेलोटीले भने, ‘हामीले पूरा वर्ष उनको अवस्थालाई नजिकबाट हेरिरहेका थियौँ। उनले पछिल्ला महिनाहरूमा नियमित खेलिरहेका छन्। अनुभव, नेतृत्व र निर्णायक क्षमताका कारण उनी टोलीका लागि महत्वपूर्ण खेलाडी हुन्।’

गत वर्ष ब्राजिलको मुख्य प्रशिक्षक बनेका ६६ वर्षीय एन्सेलोटी विश्व फुटबलका सबैभन्दा सफल प्रशिक्षकमध्ये एक मानिन्छन्। उनले रियल म्याड्रिड, एसी मिलान, चेल्सी र बायर्न म्युनिख जस्ता क्लबलाई विभिन्न उपाधि दिलाइसकेका छन्। अब उनी ब्राजिललाई छैटौँ विश्वकप उपाधि दिलाउने लक्ष्यमा छन्।

यस पटकको ब्राजिल टोलीमा अनुभवी र युवा खेलाडीहरूको राम्रो संयोजन देखिन्छ। गोलकिपिङ विभागमा लिभरपुलका एलिसन बेकर मुख्य विकल्पका रूपमा रहेका छन्। चोटका कारण उनले पछिल्ला १० खेल गुमाएका भए पनि प्रशिक्षकले उनको अनुभव र क्षमतामाथि विश्वास देखाएका छन्। एडर्सन र वेभर्टोन पनि टोलीमा छन्।

डिफेन्समा मार्किन्होस, गाब्रियल, ब्रेमर र डानिलो जस्ता अनुभवी खेलाडी रहेका छन्। यी खेलाडीहरूले युरोपेली फुटबलमा निरन्तर उच्च स्तरको प्रदर्शन गरिरहेका छन्। मार्किन्होस टोलीका नेतामध्ये एक मानिन्छन् भने गाब्रियलले आर्सनलबाट उत्कृष्ट प्रदर्शन गर्दै विश्वस्त डिफेन्डरको छवि बनाएका छन्।

मिडफिल्डमा कासेमिरोको अनुभव टोलीका लागि महत्वपूर्ण हुनेछ। डिफेन्स र मिडफिल्डबीच सन्तुलन कायम गर्न सक्ने क्षमता भएका उनी ब्राजिलका प्रमुख खेलाडीमध्ये एक हुन्। त्यस्तै ब्रुनो गुइमाराएस र लुकास पाकेटा जस्ता खेलाडीले आक्रमण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

आक्रमण विभाग भने ब्राजिलको सबैभन्दा बलियो पक्ष मानिएको छ। नेयमारसँगै भिनिसियस जुनियर, राफिन्हा, गाब्रियल मार्टिनेली र मथियस कुन्हा जस्ता तीव्र गतिका खेलाडी टोलीमा छन्। विशेषगरी रियल म्याड्रिडबाट उत्कृष्ट प्रदर्शन गरिरहेका भिनिसियस अहिले विश्व फुटबलका खतरनाक विङ्गरमध्ये एक मानिन्छन्।

१९ वर्षीय युवा स्ट्राइकर एन्ड्रिक पनि टोलीका आकर्षणमध्ये एक हुन्। ब्राजिलियन फुटबलको भविष्य मानिएका एन्ड्रिकले कम उमेरमै आफ्नो प्रतिभा देखाइसकेका छन्। उनी आगामी वर्षहरूमा नेयमारपछिको नयाँ स्टार बन्न सक्ने अनुमान गरिएको छ।

यद्यपि टोली चयनमा केही आश्चर्यजनक निर्णय पनि देखिएका छन्। चेल्सीका फरवार्ड जोआओ पेद्रो टोलीमा परेनन्। उनले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै १५ गोल र ५ असिस्ट गरेका थिए। तर प्रशिक्षकले रणनीतिक कारण देखाउँदै उनलाई अन्तिम सूचीमा नराख्ने निर्णय गरेका हुन्।

ब्राजिलले समूह चरणमा जुन १३ मा मोरोक्को, जुन २० मा हैटी र त्यसपछि स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ। यी तीनवटै खेल ब्राजिलका लागि महत्वपूर्ण मानिएका छन्, किनभने समूह चरण पार गर्न टोलीले सुरुदेखि नै लय समात्नुपर्नेछ।

यस पटकको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ। प्रतियोगितामा पहिलो पटक ४८ टोली सहभागी हुँदैछन्। जुन ११ बाट सुरु हुने प्रतियोगिता विश्व फुटबल इतिहासकै सबैभन्दा ठूलो विश्वकपका रूपमा हेरिएको छ।

पाँच पटक विश्वकप जितिसकेको ब्राजिल यस पटक पनि उपाधिको प्रमुख दाबेदार मानिएको छ। टोलीमा अनुभवी खेलाडीको साथमा प्रतिभावान युवा खेलाडीको उपस्थिति, आक्रमणको गहिराइ र प्रशिक्षक एन्सेलोटीको रणनीतिक अनुभवका कारण ब्राजिलप्रति समर्थकहरूको आशा उच्च देखिन्छ।

विशेषगरी नेयमारको पुनरागमनले टोलीलाई मानसिक र प्राविधिक दुवै रूपमा थप मजबुत बनाउने विश्वास गरिएको छ।

प्रहरी चौकी जानै पर्दैन ! अब मोबाइलबाटै दिन सकिन्छ उजुरी

काठमाडौं। नेपाल प्रहरीले नागरिकलाई प्रहरी सेवा थप सहज,छिटो र पहुँचयोग्य बनाउने उद्देश्यसहित नयाँ डिजिटल सेवा सुरु गरेको छ ।

यससँगै अब कुनै पनि घटना वा अपराधको उजुरी दिनका लागि प्रहरी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटेको हो।  अबदेखि नागरिकले घरमै बसेर मोबाइल एपमार्फत अनलाइन उजुरी दर्ता गर्न सक्ने व्यवस्था सुरु गरिएको छ ।

मंगलबार केन्द्रीय प्रहरी कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा ‘नागरिक सहायता तथा गुनासो व्यवस्थापन’ सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको हो।

 कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले डिजिटल प्रविधिको प्रयोगमार्फत प्रहरी सेवालाई अझ आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउने लक्ष्य रहेको बताए । उनले अब नागरिकले आफूलाई परेको घटना, दुर्घटना वा अपराधबारे विस्तृत विवरण भरेर मोबाइल एपबाटै उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए ।

यसले प्रहरी कार्यालयसम्म पुग्नुपर्ने झन्झट हटाउने मात्र नभई समय र खर्च दुवै बचत गर्ने अपेक्षा गरिएको छ ।

नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको सन्दर्भमा यो सेवा ‘डिजिटल पोलिसिङ’ तर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ । 

त्यस्तै आईजीपी कार्कीले नागरिकलाई प्रहरी सेवा लिन कार्यालयसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिमार्फत सहज पहुँच सुनिश्चित गर्नु प्रमुख उद्देश्य रहेको उल्लेख गरे । 

उनले भने, ‘नागरिकले मोबाइल एपमार्फत उजुरी दर्ता गर्न सक्नेछन् र त्यसको अवस्थाबारे अनलाइनमै जानकारी लिन सक्नेछन् ।’  उनले थपे, ‘प्रहरी सेवालाई पारदर्शी, छिटो र प्रभावकारी बनाउन डिजिटल प्रणालीको विकाश गरिएको हो’

कसरी लिने सेवा ?

नेपाल प्रहरीले सार्वजनिक गरेको जानकारीअनुसार यो सेवा प्रयोग गर्न नागरिकले सर्वप्रथम आफ्नो स्मार्टफोनमा ‘नेपाल पुलिस’  को आधिकारिक मोबाइल एप डाउनलोड गर्नुपर्ने हुन्छ । यो एप एन्ड्रोइड तथा आईओएस दुवै प्रणालीमा उपलब्ध छ । एप डाउनलोड गरेपछि प्रयोगकर्ताले साइन–अप गरेर व्यक्तिगत विवरण दर्ता गर्नुपर्ने हुन्छ । त्यसपछि एपभित्र रहेको ‘रजिस्टर कम्प्लेन्ट’ विकल्पमा गएर उजुरी दर्ता गर्न सकिन्छ । 

उजुरी दर्ता गर्दा घटनाको प्रकार, घटना भएको स्थान (लोकेसन), सम्बन्धित जिल्ला वा इलाका प्रहरी कार्यालय, घटनाको विस्तृत विवरण तथा प्रमाणका रूपमा फोटो, अडिओ र भिडियो फाइलहरू समावेश गर्न सकिने व्यवस्था गरिएको छ ।

नेपाल प्रहरीले यो प्रणालीलाई केवल उजुरी दर्तामा सीमित नराखी त्यसको अनुगमनपनि सहज बनाएको छ । उजुरी दर्ता भएपछि प्रयोगकर्ताले आफ्नो अवस्थाबारे मोबाइल एपमार्फत नियमित अपडेट प्राप्त गर्न सक्नेछन् ।

प्रवक्ता नायव महानिरीक्षक अबि नारायण काफ्लेले अब नागरिकले उजुरी दिएपछि के भयो भन्ने जानकारी लिन फेरि प्रहरी कार्यालय धाउनुपर्ने अवस्था नरहेको बताए । उनका अनुसार सबै प्रक्रिया एपमै हेर्न सकिने भएकाले सेवा थप पारदर्शी र जवाफदेही बन्नेछ ।

एपमा विभिन्न प्रकारका अपराध तथा घटनालाई छुट्टाछुट्टै शीर्षकमा वर्गीकरण गरिएको छ। जसअनुसार नागरिकले सजिलै आफ्नो समस्या अनुसार उजुरी दिन सक्नेछन् । तीमध्ये दुर्घटना, साइबर अपराध, चोरी तथा लुटपाट,घरेलु हिंसा, लागूऔषध सम्बन्धी अपराध, आर्थिक अपराध तथा अन्य आपराधिक गतिविधिहरू समावेश छन् । 

यी सबै शीर्षकहरू सम्बन्धित ब्युरो तथा विभागमा स्वचालित रूपमा पठाइने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले यो सेवा सुरु गर्नुको मुख्य उद्देश्य प्रहरी सेवालाई जनमैत्री,पारदर्शी र प्रभावकारी बनाउनु रहेको बताएको छ । 

डिजिटल प्रणालीमार्फत उजुरी दर्ता गर्दा बिचौलिया प्रवृत्ति घट्ने, ढिलासुस्ती कम हुने र नागरिकको विश्वास बढ्ने अपेक्षा गरिएको छ । 

समाचारमा उल्लेख गरिएको प्रहरी महानिरीक्षकको नाम दानबहादुर कार्की नै रहेको प्रहरीले स्पष्ट पारेको छ । प्रारम्भिक विवरणमा देखिएको त्रुटि सच्याइएको जनाइएको छ । 

प्रहरी अधिकारीहरूका अनुसार भविष्यमा यो प्रणाली देशभरका सबै प्रहरी कार्यालयसँग पूर्ण रूपमा एकीकृत गरिनेछ, जसले उजुरी दर्ता र कारबाही प्रक्रिया अझ व्यवस्थित, छिटो र पारदर्शी बनाउनेछ ।

२१ फागुनको निर्वाचन खर्च ४ अर्ब ९६ करोड

काठमाडौं । काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै निर्वाचन खर्च सम्बन्धी विवरण सार्वजनिक गरेका हुन्।

आयोगका अनुसार उक्त निर्वाचनका लागि नेपाल सरकारले ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ उपलब्ध गराएको थियो। तर निर्वाचन सञ्चालन गर्दा कुल ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ।

आयोगको विवरणअनुसार एक मतदातामा औसत २६३ रुपैयाँ खर्च भएको देखिएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ८९ जना मतदाता रहेको आयोगले जनाएको छ।

प्रधानन्यायाधीश शर्माले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज शर्माले सपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहण गराएका हुन्। 

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह पनि उपस्थित थिए।

राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराएपछि प्रधानन्यायाधीश शर्माले न्यायपालिका प्रति निष्पक्षता र संविधानको सर्वोच्चता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।

शपथ समारोह शीतल निवासमा उच्च सरकारी अधिकारी, न्यायपालिका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भएको हो।

शर्मालाई मंगलबार बसेको संसदीय समितिको बैठकले सर्वसम्मत रुपमा प्रधानन्यायाधिशमा अनुमोदन गरेको थियो। 

अड्किएको व्यापार सम्झौता : ईयूको कठालो समाउँदै ट्रम्प

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कडा भन्सार शुल्क लगाउने चेतावनी दिएपछि युरोपेली सङ्घ (ईयू) अमेरिका-ईयू व्यापार सम्झौतालाई अन्तिम रूप दिन तीव्र दबाबमा परेको छ ।

करिब एक वर्षदेखि अड्किएको व्यापार सम्झौता अघि बढाउन ईयूका सदस्य राष्ट्र, संसद् र वार्ताकारहरू मङ्गलबार निर्णायक छलफलमा जुटेका छन् ।

गत जुलाईमा वासिङ्टन र ईयूबीच अधिकांश युरोपेली वस्तुमा १५ प्रतिशत भन्सार शुल्क लगाउने सहमति भएको थियो । स्कटल्यान्डको टर्नबेरीमा अमेरिकी राष्ट्रपति ट्रम्प र युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनबीच उक्त सहमति भए पनि त्यसको अन्तिम कानुनी पाठमा अझै सहमति जुट्न सकेको छैन ।

ट्रम्प प्रशासनले सम्झौता तत्काल कार्यान्वयन नभए जुलाई ४ पछि युरोपेली वस्तुमाथि अझ कडा शुल्क लगाइने चेतावनी दिएको छ । विशेषगरी युरोपेली कार र ट्रकमा हालको १५ प्रतिशत शुल्क बढाएर २५ प्रतिशतसम्म पुर्‍याउन सकिने संकेत वासिङ्टनले दिएको छ ।

यसैबीच, अमेरिका-ईयू मिसनले ‘सम्झौता भनेको सम्झौता हो’ भन्दै टर्नबेरी सहमतिप्रति प्रतिबद्ध रहनुपर्ने सन्देश दिएको छ ।

यही दबाबबीच युरोपेली संसद् र सदस्य राष्ट्रका प्रतिनिधिहरू फ्रान्सको स्ट्रासबर्गमा भेला हुँदैछन् । उनीहरूको लक्ष्य ट्रम्पले तोकेको समयसीमाभित्र सहमति जुटाएर एक वर्षभन्दा लामो समयदेखि चलिरहेको व्यापार तनाव अन्त्य गर्नु रहेको बताइएको छ ।

अमेरिका र ईयूबीचको वार्षिक व्यापार सम्बन्ध करिब १६ खर्ब युरो (करिब १९ खर्ब अमेरिकी डलर) बराबरको रहेको छ । त्यसैले दुवै पक्ष दीर्घकालीन व्यापार अस्थिरता अन्त्य गर्न इच्छुक देखिएका छन् ।

हाल ईयूको घुमाउरो अध्यक्षता गरिरहेको साइप्रसले सम्झौताको शीघ्र कार्यान्वयनलाई प्राथमिकता दिएको जनाएको छ । तर, युरोपेली संसद्ले अघि सारेका संशोधनका कारण प्रक्रिया अझ जटिल बनेको छ ।

युरोपेली संसद्को व्यापार समितिका प्रमुख बन्र्ड ल्याङले प्रगति भइरहेको दाबी गर्दै नयाँ प्रस्तावमार्फत सहमति नजिक पुग्न सकिने बताएका छन् । तर संसद्भित्रै विभिन्न राजनीतिक समूहबीच मतभेद कायम छ ।

इयूपिपी समूह सम्झौता तत्काल लागू गर्नुपर्ने पक्षमा देखिएको छ भने केही सांसदहरू अझै सावधानीपूर्वक अघि बढ्नुपर्ने पक्षमा छन् । यसले अन्तिम सहमति जुटाउन चुनौती थपिएको विश्लेषण गरिएको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु(सूचीसहित)

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले आजका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन्।

उनका अनुसार, बैठकले जोखिमयुक्त बस्तीबाट स्थानान्तरण गरिएकाहरूलाई वैकल्पिक बसोबास आफैं व्यवस्थापन गर्न प्रोत्साहन स्वरूप राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।

त्यस्तै, काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउने क्रममा विस्थापित भएका परिवारलाई प्रति परिवार एकमुष्ट २५ हजार रुपैयाँ राहत प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

 

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

–नगरपालिका राजश्व अभिवृद्धि परियोजनाका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्याङ्क अनुदान स्वीकार गर्ने ।

–अरनिको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने ७९.३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने । 

–काठमाडौं उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्चबापत रु २५ हजार एकमुष्ट रुपमा प्रदान गर्ने । 

–जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफैं गर्ने प्रोत्साहित गर्न ५ सदस्यीय भएको प्रति परिवार राहत रहक रु १५ हजार (प्रतिमहिना) र सो भन्दा बढी सदस्यका लागि प्रतिसदस्य थप २ हजार प्रतिमहिनाको दरले हाललाई तीन महिनाको दरले हाललाई तीन महिनाका लागि बसोबास खर्च उपलब्ध गराउने ।

–वृद्ध, अशक्त, असाहय तथा आफ्नो व्यवस्था गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने । 

–बालबालिका तथा विद्यार्थीको पठनपाठन, तथा विद्यालय र स्वास्थय सेवाको सुनिश्चितता स्थानीय तहको समन्वयमा गर्ने । 

–प्रत्यायन नियमावली, २०८३ स्वीकृत गर्ने । 

–सैनिक सेवा छैटौं सेवा संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने । 

–नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने । 

–नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ अनुसार हुनेगरी राजपंत्रागत विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान र पदस्थापन गर्ने ।

नीति-कार्यक्रमको चमकभित्र जनजीवनको अँध्यारो

नेपालको राजनीतिक इतिहास सरकार फेरिने इतिहास होइन, यो जनताको आसा, बलिदान, संघर्ष र विश्‍वासको इतिहास हो । यो त्यो इतिहास हो- जहाँ किसानले हलो समाउँदै परिवर्तनको सपना देख्यो, मजदुरले कारखानाको धुवाँभित्र न्याय खोज्यो, विद्यार्थीले सडकमा नारा लगाउँदै भविष्य माग्यो र सुकुम्बासीले आफ्नो झुपडीभित्र पनि एउटा सम्मानित जीवनको कल्पना गर्‍यो। तर, आज प्रश्‍न उठिरहेको छ- के राज्य साँच्चै जनताको पक्षमा उभिएको छ ?
कि सत्ता केवल नयाँ अनुहारमा पुरानै चरित्र दोहोर्‍याइरहेको छ ?

नीति तथा कार्यक्रम कुनै साधारण सरकारी कागज मात्र होइन। त्यो जनताको सपना पनि हो। तर, सपना कसकाे ? कुन वर्गको ? सर्वहारा कि  पुँजीपति वर्गकाे ? त्यही सपनाको अनुहारले सरकार कसको पक्षमा छ भन्‍ने स्पष्ट देखाउँछ। तर, वर्तमान नीति तथा कार्यक्रम हेर्दा यस्तो महसुस हुन्छ- देशको मुटु सिंहदरबारमा होइन, विदेशीदाताको फाइलमा धड्किरहेको छ। जनताको पसिनाभन्दा ‘पावरवाला’को मुस्कान महत्त्वपूर्ण बनेको छ।

एक गार्सानिक्ले भनेका थिए, ‘राज्य कुनै तटस्थ संरचना होइन, यो कुनै न कुनै वर्गको हित रक्षा गर्ने संयन्त्र हो।’ आज नेपालको शासनशैली हेर्दा त्यो भनाइ झन् प्रस्ट देखिन्छ। प्रश्‍न नीति कमजोर भयो भन्‍ने होइन, प्रश्‍न यो हो- नीति कसका लागि बनाइयो ? जनताको लागि कि सीमित शक्तिशाली वर्गको लागि ? याे लेखमा बालेन सरकारकाे नीति कार्यक्रमकाे समीक्षा गर्ने प्रयास गरिएकाे छ।

१, भुइँमान्छेप्रति उत्तरदायी बन्‍न नसकेको सत्ता

लोकतन्त्रको वास्तविक परीक्षा चुनावमा होइन, भुइँमान्छेको जीवनमा हुन्छ। तर, आज गाउँका किसान मल र बीउको अभावमा छट्पटाइरहेका छन्। मजदुर दिनभर श्रम बेचेर साँझ भोकै सुतिरहेका छन्। सुकुम्बासी डोजरको त्रासमा बाँचेका छन्। युवा भविष्य खोज्दै एयरपोर्टको लाइनमा उभिएका छन्। प्रधानमन्त्री संसदमा जवाफ दिन सक्दैनन् । उनकाे मुख बन्द र कान बहिरो छ । सडकको आवाज सुन्दैनन्। आँखा बन्द छ र अलपत्र परेको जनता देख्दैनन् । उनी उपलब्धिको सूची पढ्छन् तर जनताको पीडा पढ्दैनन्। नीति तथा कार्यक्रममा समृद्धि शब्द दोहोरिन्छ तर त्यो समृद्धि कसको हो ? भुइँमान्छेको जीवनमा त अझै निराशा महँगी, बेरोजगारी र असुरक्षा बढिरहेको छ। आज सरकार जनताको जीवनभन्दा प्रचारमा बढी व्यस्त देखिन्छ। सडकमा भोक छ तर भाषणमा विकास छ। जनताको आँखामा आँसु छ तर सत्ताको अनुहारमा आत्मप्रशंसा छ। यही नै आजको नेपालको सबैभन्दा ठूलो विडम्बना हो।

२. पावर र पैसावालहरूप्रति विशेष झुकाव

आज राज्यको ढोका सबैका लागि समान छैन। धन र पहुँच हुनेहरूका लागि नियम लचिलो छ । गरिब र कमजोरका लागि राज्य कठोर छ। नीति तथा कार्यक्रमभित्र ठूला लगानीकर्ताको सुरक्षा छ । तर, फुटपाथ व्यापारीको भविष्य छैन। बैंकलाई बचाउने योजना छ । तर, ऋणले थिचिएका किसानको कथा छैन। ठूला उद्योगीलाई कर छुट दिइन्छ । सीमानामा पाँच किलो चिनी बोक्नेलाई भन्सार लगाइन्छ । मजदुरले न्यूनतम पारिश्रमिकका लागि सोच्‍ने, बोल्ने र  सम्बोधन गर्ने कुनै नीति योजना भित्र हुँदैन । यो लोकतन्त्रको समानता होइन, वर्गीय पक्षधरता हो, जहाँ नीतिको केन्द्र जनताको आवश्यकता होइन, पूँजीको सुविधा बन्छ।

भनिन्छ- ‘जब राज्य पूँजीको सेवक बन्छ, तब जनताको अधिकार भाषणमा सीमित हुन्छ।’ आज नेपालमा त्यही दृश्य देखिँदैछ। सत्ता जनताको घरमा होइन, शक्तिशाली वर्गको बैठकमा बढी सहज देखिन्छ।

३. उत्पादन र आत्मनिर्भरताप्रति उदासीनता

नेपालसँग उर्वर माटो छ, पानी छ, युवा शक्ति छ र प्राकृतिक स्रोत छ। तर, राज्यको नीति उत्पादनमुखी छैन। खेत बाँझिदैछ तर विदेशी सामानका बजार भरिँदैछन्। किसान मल खोज्दै लाइनमा उभिन्छ । तर, सरकार कृषि क्रान्तिको भाषण दिन्छ। आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने ठाउँमा आयातमुखी संस्कृतिलाई बढावा दिइएको छ। देशभित्र उद्योग खोल्नेभन्दा विदेशी कम्पनी भित्र्याउने होड छ। आत्मनिर्भरताबिना राष्ट्रिय स्वाभिमान टिक्दैन। जो देश उत्पादन गर्दैन त्यो अन्तत परनिर्भर बन्छ। आज नेपाल उपभोगमुखी अर्थतन्त्रको दलदलमा फस्दैछ। यही कारण गाउँ रित्तिँदैछन्, खेत बाँझिँदैछन् र शहर बेरोजगार युवाले भरिँदैछन्। त्यसैले पुरानाको उछित्तो काट्ने नयाँ सासकहरु पुरानै नीति कार्यक्रममा रङ्‍ग लगाएर टल्काइरहेका छन्।

४. वैदेशिक ऋण र अनुदानमा निर्भरता

ऋण लिएर देश चलाउनु हुन्‍न भन्‍ने आज विकासलाई ऋणको संख्याले मापन गरिरहेका छन् । जति धेरै ऋण ल्यायो त्यति धेरै विकास भएको प्रचार गरिरहेका छन् । तर, प्रश्‍न उठ्छ- ऋणले देश उठाउँछ कि झन् घुँडा टेकाउँछ ? विदेशी अनुदान र ऋणको चमकभित्र राष्ट्रिय स्वाभिमानको क्षय लुकेको हुन्छ। जब नीति विदेशी संस्थाको सर्तअनुसार बन्‍न थाल्छ तब राष्ट्रिय स्वतन्त्रता कमजोर बन्छ। आज नेपालको विकास मोडेल आफ्नै उत्पादनमा होइन, ऋणमा टिकेको छ। नेताहरू ऋणलाई उपलब्धि भनेर देखाउँछन्
तर त्यो ऋण तिर्ने बोझ जनताको काँधमा थुपारिन्छ। ऋणले सडक बनाउन सकिन्छ । तर, आत्मनिर्भर राष्ट्र बनाउन सकिँदैन । यद्यपि, अनुदान र ऋणमा निर्भर नीति कार्यक्रम तयार गरिएको छ ।

५. रेमिट्यान्समा निर्भरता र वैदेशिक श्रमिकमाथिको उपेक्षा

नेपालको अर्थतन्त्र आज रेमिट्यान्समा अडिएको छ। विदेशिएका युवाको पसिनाले देशको बजार चलिरहेको छ। तर, विडम्बना के छ भने सरकारलाई डलर चाहिन्छ । श्रमिकको दुःख देखिँदैन। कतार, मलेसिया, खाडीमा नेपाली श्रमिक मर्दा त्यो केवल एउटा समाचार बन्छ। एयरपोर्टमा विदाइ हुँदा आमाको आँसु कसैले देख्दैन। नीति तथा कार्यक्रममा रेमिट्यान्सलाई आर्थिक उपलब्धि भनिन्छ तर ती युवालाई उपेक्षित गरिन्छ ग्रिनकार्ड र पीआरवालाहरुलाई पटकपटक सम्झिरहेको हुन्छ र युवालाई देशभित्र रोजगार किन दिन सकिएन भन्‍ने प्रश्‍न उठाइँदैन। देशले आफ्ना युवालाई श्रम बेच्‍न बाध्य बनाएको छ। यो गर्वको विषय होइन, देश विफलताको संकेत हो।

६. विकासको नाममा जनताको उपेक्षा

आज विकासको नाममा जनताको आवाज दबाइन्छ। डोजरलाई विकास भनिन्छ, विरोधलाई अवरोध भनिन्छ। सुकुम्बासी हटाइन्छन् र उनीहरूलाई विकल्प दिइँदैन। गरिबको झुपडी भत्किन्छ तर ठूला महलमाथि राज्य मौन बस्छ। नीति तथा कार्यक्रम जनताको सहभागिताभन्दा माथिबाट थोपरिएको दस्तावेज जस्तो देखिन्छ। जहाँ जनता दर्शक हुन्, निर्णयकर्ता होइनन्, जब विकासले मानिसलाई विस्थापित गर्छ । त्यो विकास होइन, सत्ताको प्रदर्शन हो।

७. नियन्त्रण, दमन र तानाशाही प्रवृत्तिको विस्तार

लोकतन्त्र केवल चुनाव होइन आलोचना सहने क्षमता पनि हो। तर, आज आलोचना गर्नेहरूलाई ‘अराजक’, ‘विकास विरोधी’ भनेर चिनाउने प्रवृत्ति बढेको छ। राज्य संवादभन्दा नियन्त्रणमा विश्‍वास गर्न थालेको छ। प्रविधि जनताको सेवाभन्दा निगरानीको साधन बन्दैछ। जब सत्ता आलोचनासँग डराउँछ, त्यो लोकतन्त्र कमजोर भएको संकेत हो। जनताको आवाज दबाएर कुनै शासन लामो समय टिक्दैन। किनकि इतिहासले देखाएको छ- दबिएको आवाज अन्तत विस्फोट भएर निस्कन्छ।

८. ट्रेड युनियन, विद्यार्थी संगठन र सामाजिक

कुनै पनि लोकतान्त्रिक समाजको चेतना संसदभित्र मात्र सीमित हुँदैन। त्यो सडकमा बोल्ने विद्यार्थीको आवाजमा हुन्छ । कारखानामा पसिना बगाउने मजदुरको संघर्षमा हुन्छ। तर, आज ट्रेड युनियनलाई कमजोर बनाउने प्रयास भइरहेको छ। विद्यार्थी संगठनलाई ‘राजनीति नगर भन्‍ने आदेश दिइन्छ। सामाजिक सौदाबाजीलाई औपचारिकतामा सीमित गरिन्छ। जब मजदुरको संगठनलाई वार्ताबाट टाढा राखिन्छ, जब विद्यार्थीको प्रश्‍नलाई उपद्रव भनिन्छ, त्यो संगठनमाथिको हमला होइन, स्वाधीन भविष्यको चेतनामाथिको हमला हो। आज सरकार श्रमिकसँग संवाद गर्नुभन्दा आदेश दिन रुचाउँछ। विद्यार्थीसँग बहस गर्नुभन्दा नियन्त्रण गर्न खोज्छ। यस्तो अवस्थामा प्रधानमन्त्रीको भूमिका झन् गम्भीर हुन्छ। तर, दुर्भाग्य देशले यस्तो नेतृत्व देखिरहेको छ, जसले जवाफदेहिता गुमाउँदै गएको छ। जनताको पीडा सुन्‍नुपर्ने ठाउँमा मौनता छ। आलोचनाको उत्तर दिनुपर्ने ठाउँमा प्रचार छ। असफलताको जिम्मा लिनुपर्ने ठाउँमा दोषारोपण छ। राष्ट्रको युवा पुस्ता बेरोजगारी निराशा र दुर्व्यसनीकाे अन्धकारमा धकेलिँदैछ। जब राज्यले आसा दिन सक्दैन, तब निराशाले समाजलाई खान थाल्छ। नशाले लठ्ठिएको मानिसले जस्तै जसलाई आफ्नो चालको होस हुँदैन । त्यस्तै गैरजिम्मेवार शासनले राष्ट्रलाई कहाँ पुर्‍याउँदैछ भन्‍ने चेत गुमाउन थालेको छ। त्यसैले प्रश्‍न उठ्छ- जनताको आवाज नसुन्‍ने
मजदुरलाई नदेख्‍ने, विद्यार्थीको भविष्यप्रति संवेदनशील नहुने नेतृत्वबाट अब जनताले के अपेक्षा गर्ने र समृद्धि सपना कहाँ देख्‍ने अनि असीमित विकासको के अपेक्षा गर्ने गम्भीर बन्‍नुपर्ने भएको छ ।

९. प्रधानमन्त्रीले सदन र जनताको आवाजलाई किन जवाफ दिन सक्दैन ?

लोकतन्त्रमा प्रधानमन्त्री पद होइन, त्यो जनताको विश्‍वासको प्रतीक हो। संसद भवन होइन, त्यो जनताको सामूहिक आवाज हो। जब संसदमा प्रश्‍न उठ्छ त्यो केवल प्रतिपक्षको मात्र आवाज हुँदैन, त्यो किसानको प्रश्‍न हो, मजदुरको प्रश्‍न हो, बेरोजगार युवाको पीडा हो, र सुकुम्बासीको आक्रोश हो। तर, आज प्रश्‍न उठिरहेको छ- प्रधानमन्त्री किन सदनको प्रश्‍नबाट भाग्छ ? किन जनताको आवाज सुन्‍न असहज महसुस गर्छ ? किन आलोचनाको उत्तर दिनुभन्दा मौनता रोज्छ ? जो नेतृत्व जनतासँग जोडिएको हुन्छ उसलाई प्रश्नसँग डर लाग्दैन। तर, जब सत्ता जनताको जीवनबाट टाढा जान्छ, जब नीति भुइँमान्छेको पीडाभन्दा शक्तिशाली वर्गको स्वार्थमा केन्द्रित हुन्छ, तब प्रश्‍नहरू काँडाजस्तै लाग्‍न थाल्छन्। आज संसदमा उठेका धेरै प्रश्‍नहरू सरकारका लागि असहज छन्
किन युवा विदेशिन बाध्य छन् ? किन किसानले उत्पादनको मूल्य पाउँदैन ? किन मजदुरले अधिकारका लागि आन्दोलन गर्नुपर्छ ? किन सुकुम्बासीमाथि डोजर चल्छ ? यी प्रश्‍नहरूको उत्तर तथ्यांकले दिँदैन। यी प्रश्‍नहरूको उत्तर जनताको जीवनले माग्छ। त्यसैले सत्ता मौन बन्छ। किनकि मौनता कहिलेकाहीँ असफलताको सबैभन्दा ठूलो स्वीकारोक्ति हुन्छ। आजको राजनीति कामभन्दा प्रचारमा बलियो देखिन्छ। सामाजिक सञ्‍जालमा उपलब्धिको वर्षा हुन्छ तर जनताको जीवनमा निराशा बढ्छ। त्यसैले आज प्रश्‍न उठाउनेलाई नकारात्मक अराजक विकास विरोधी भनेर चिनाउने प्रवृत्ति बढेको छ। यो लोकतान्त्रिक आत्मविश्‍वास होइन, राजनीतिक असुरक्षा हो। सत्ताको सबैभन्दा ठूलो शक्ति सेना होइन पैसा होइन जनविश्‍वास हो। जब जनताले विश्‍वास गर्न छोड्छन् तब सरकार बाहिर बलियो देखिए पनि भित्र कमजोर हुन्छ। आज जनतामा निराशा बढिरहेको छ। युवाले भविष्य देख्‍न छोडेका छन्। किसानले श्रमको मूल्य पाउन छोडेका छन्। मजदुरले न्यायको आशा गुमाउँदैछन्। यस्तो अवस्थामा प्रधानमन्त्रीले सदनमा उभिएर निर्धक्क उत्तर दिन गाह्रो हुन्छ। किनकि वास्तविकता प्रचारभन्दा फरक छ। जब जनता रोइरहेका हुन्छन्, त्यतिबेला विकासको भाषण खोक्रो सुनिन्छ। त्यसैले सरकार उत्तरभन्दा नारामा भाग्छ । जवाफदेहिताभन्दा प्रचारमा लुक्छ। यस्तो अवस्थामा गुज्रिनु भनेको सरकार र प्रधानमन्त्री आफ्नो खुट्टामा उभिएर छैन । बाहिरी शक्तिको बैसाखीमा हिडिरहेको छ ।

निष्कर्ष
अब जनताको पक्षमा उभिने राजनीति आवश्यक छ । नेपाललाई नीति होइन, स्पष्ट दिशा चाहिएको छ। त्यो दिशा सिंहदरबारको वातानुकूलित कोठाबाट होइन, जनताको जीवनबाट आउनुपर्छ। मजदुरको हातबाट, किसानको खेतबाट, सुकुम्बासीको झुपडीबाट,
विद्यार्थीको चेतनाबाट र युवाको सपनाबाट नयाँ पुरानो व्यवस्थालाई मिल्काउँदै समाजवादी व्यवस्था, जसले सबैलाई सम्बोधन गर्ने सुन्दर नेपाल निर्माण हुनुपर्छ। प्रधानमन्त्री सरकार चलाउने व्यक्ति होइनन्, उनी जनताको विश्‍वासका प्रतिनिधि हुन्। यदि नीति तथा कार्यक्रमले भुइँमान्छेको जीवन छुन सक्दैन भने त्यो केवल कागजी दस्तावेज मात्र हो। आज आवश्यकता छ – विदेशी ऋणको होइन उत्पादनको राजनीति। सामुहिक जीवन पद्धतिसहित जनता निमुखाहरुप्रति उत्तरदायित्वको राजनीति। सत्ताको होइन, जनताको राजनीति। किनकि इतिहासले बारम्बार प्रमाणित गरेको छ । जब जनताको आवाज धेरै समयसम्म दबाइन्छ, त्यसपछि सडकले आफैँ आफ्नो भाषा बोल्न थाल्छ र जब सडक बोल्न थाल्छ, त्यो आवाज कुनै शासकको पर्खालले रोक्न सक्दैन। सुधार नीति कार्यक्रमको असफता र दलाल पुँजीवादी व्यवस्थाकाे आयू लामो नभएको आज भोलि देखिने नाटकीय गतिविधिले प्रष्ट पारिदिएको छ ।

रुस र चीन विश्वलाई स्थायित्व दिने शक्ति : पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ नेता सी जिनपिङसँग हुने वार्ताअघि मस्को बेइजिङ सम्बन्धलाई विश्वमञ्चमा स्थायित्व कायम गर्ने शक्तिका रूपमा व्याख्या गरेका छन्।

मंगलबारदेखि सुरु हुने दुई दिने चीन भ्रमणअघि सम्बोधन गर्दै पुटिनले रुस र चीनले कुनै तेस्रो देशविरुद्ध गठबन्धन निर्माण गर्न नचाहेको स्पष्ट पारे। उनले दुवै देश शान्ति र विश्वव्यापी समृद्धिका लागि सहकार्य गरिरहेको बताएका हुन्।

पुटिनका अनुसार मस्को र बेइजिङले अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघको घोषणापत्रका सिद्धान्तहरूको संरक्षणका लागि सहकार्य गरिरहेका छन्। यद्यपि युक्रेनमाथिको रुसी आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन उल्लंघनका रूपमा व्यापक आलोचना हुँदै आएको छ।

उनले रुस र चीनले संयुक्त राष्ट्रसंघ , सांघाई को-अपरेसन अर्गानाइजेसन र ब्रिक्स लगायत बहुपक्षीय मञ्चमार्फत विश्व तथा क्षेत्रीय समस्याको समाधानमा योगदान पुर्‍याइरहेको दाबी गरे। मस्को बेइजिङ सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको उल्लेख गर्दै पुटिनले सार्वभौमिकता र राष्ट्रिय एकताजस्ता विषयमा दुवै देशबीच पारस्परिक समर्थन कायम रहेको बताए।

पुटिन मंगलबार साँझ चीन पुग्ने कार्यक्रम रहेको छ भने बुधबार सि जिनफिङसँग औपचारिक वार्ता हुने तय गरिएको छ। एक वर्षभन्दा कम अवधिमा दुई नेताबीच हुन लागेको यो दोस्रो प्रत्यक्ष भेटलाई विश्व राजनीतिमा अमेरिकाको प्रभावलाई चुनौती दिने सन्दर्भमा हेरिएको छ।

यो भ्रमण रुस चीन सद्भाव तथा मैत्री सहकार्य सन्धि को २५औँ वार्षिकोत्सवको अवसरमा भइरहेको हो। साथै, केही दिनअघि मात्रै सि जिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बेइजिङमा सम्पन्न शिखर सम्मेलनपछि पुटिनको चीन भ्रमण हुन लागेको छ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

केही बेरदेखि बैठक चलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

 

सुधन गुरुङ फेरि विवादमा

काठमाडौं । पुर्वगृहमन्त्री सुधन गुरुङ फेरि विवादमा तानिएका छन्। उनले गृहमन्त्री हुँदा सरकारलाई बुझाएको सम्पत्ति विवरण र प्रतिनिधिसभाको निर्वाचन लड्दा निर्वाचन आयोगलाई बुझाएको सम्पत्ति विवरणमा ठुलो अन्तर देखिएपछि उनी फेरि एकपटक विवादको घेरामा तानिएका हुन्। 

विवादित व्यापारी दिपक भट्टसँगको सेयर लगानी रहेको कुरा बाहिरिएपछि उनले गृहमन्त्रीबाट राजीनामा दिएका थिए।  अहिले भने उनको सम्पत्ति लुकाईएको विषय चर्चामा छ। 

उनीमाथि सुन तथा चाँदीको विवरण लुकाएको, केही कम्पनीमा रहेको सेयर स्वामित्व खुलाउन नखोजेको तथा सम्पत्तिसम्बन्धी कागजातमा गोलमाल गरेको आरोप लगाइएको छ। यस्तै, भेटिएको जग्गाको वास्तविक विवरणसमेत गायब पारिएको दाबी गरिएको छ।

बैंक विवरणसमेत लुकाएको आरोप उनीमाथि लागेको छ। सार्वजनिक आरोपअनुसार साढे दुई महिनाको अवधिमा ४४ लाख रुपैयाँ थप आम्दानी भएको देखिएको छ भने आफूले पाउनुपर्ने ऋण रकमसम्बन्धी विवरणमा समेत करोडौँ रुपैयाँ गायब भएको उल्लेख गरिएको छ।

सम्पत्तिको लफडा र बिचौलिया भट्टसँगको साझेदारी विवादमा मुछिएर गृहमन्त्रीबाट वैशाख १० गते राजीनामा दिएका उनलाई सोही जिम्मेवारीमा फर्काउने खेलको चर्चा चलिरहेका बेला भेटिएको यो तथ्यले अनेक आशंका उब्जाएको छ । सरकारले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित वैशाख ३१ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युत भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।  

३७ पासपोर्टसहित दिल्ली हिडेका अजित एयरपोर्टबाटै परे पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ वटा राहदानी (पासपोर्ट)सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाका अजित श्रेष्ठ रहेका छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले मंगलवार  दिउँसो पक्राउ गरेको हो ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी नेपाल एयरलाइन्सको उडानमार्फत भारतको दिल्ली जान लागेका थिए ।

थप अनुसन्धानका लागि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको छ ।

मनोज शर्मा सर्वोच्चको नयाँ प्रधानन्यायाधीश

काठमाडौं। डा. मनोज शर्मा सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्त भएका छन्। संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले उनलाई नेपालको ३३औँ प्रधानन्यायाधीशका रूपमा अनुमोदन गर्ने निर्णय गरेको हो।

सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि समितिले शर्माको नाम अनुमोदन गरेको हो। अब उक्त निर्णय संसद् सचिवालयमार्फत राष्ट्रपति कार्यालयमा पठाइनेछ र त्यसपछि उनको औपचारिक नियुक्ति हुनेछ।

यसअघि संवैधानिक परिषद्ले न्याय परिषद्बाट प्राप्त नामहरू मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो। सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दै प्रधानमन्त्रीलाई अनुकूल हुने गरी निर्णय प्रक्रिया सहज बनाएको आरोप पनि लाग्दै आएको छ। सो अध्यादेशमा ६ सदस्यीय परिषद्मा ३ जना सदस्यको उपस्थितिमै निर्णय गर्न सकिने व्यवस्था गरिएको थियो।

त्यही व्यवस्थाअनुसार बसेको परिषद् बैठकले शर्माको नाम सिफारिस गरेको थियो। तर उक्त सिफारिसप्रति प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले असहमति जनाएका थिए। दुई सदस्यको असहमतिकाबीच पनि शर्माको नाम निर्णय भएको हो।

वरिष्ठताक्रमको परम्परा मिचेर नियुक्ति गरिएको भन्दै न्यायालयको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठेको छ। नेपाल बार एसोसिएसनसहित विभिन्न पक्षले यस निर्णयको विरोध पनि जनाइरहेका छन्।

शिक्षक-विद्यार्थीसहित ४६ जनाको अपहरण

एजेन्सी। नाइजेरियाको दक्षिण-पश्चिमी ओयो राज्यमा सशस्त्र समूहले विद्यालयहरूमा आक्रमण गरी ३९ जना विद्यार्थी र ७ जना शिक्षकसहित ४६ जनालाई अपहरण गरेको छ ।

अधिकारीहरूका अनुसार घटना गत शुक्रबार अहोरो एसिनेले क्षेत्रमा भएको हो । आक्रमणकारीहरूले एक माध्यमिक विद्यालय र दुई प्राथमिक विद्यालयलाई एकैसाथ निशाना बनाएको जनाइएको छ ।

नाइजेरियाको क्रिश्चियन एसोसिएसनका ओयो राज्य अध्यक्ष एलिशा ओलुकायोडे ओगुन्डियाले अपहरणमा परेकामध्ये अधिकांश दुईदेखि १६ वर्ष उमेर समूहका बालबालिका रहेको बताएका छन् ।

प्रहरीले यस घटनालाई समन्वित आक्रमणको रूपमा व्याख्या गरेको छ । स्थानीय अधिकारीहरूका अनुसार सशस्त्र समूहले एकै समयमा विभिन्न विद्यालयमा प्रवेश गरी अपहरण गरेको हो ।

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले घटनाको कडा निन्दा गर्दै यसलाई ‘बर्बर आक्रमण’ भनेका छन् । उनले संघीय सरकार र ओयो राज्य प्रशासन मिलेर अपहरितहरूको सुरक्षित उद्धारका लागि प्रयास भइरहेको जानकारी दिएका छन् ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा ‘हामी चाँडै सकारात्मक प्रगतिको अपेक्षा गरिरहेका छौँ’ भनिएको छ ।

यसैबीच, राज्य गभर्नर ओलुसेई अबियोडुन माकिन्डेका अनुसार अपहरणमा परेका एक शिक्षकको आइतबार हत्या गरिएको छ । घटनासँग सम्बन्धित ६ जना सन्दिग्धलाई पक्राउ गरिएको पनि उनले जानकारी दिएका छन् ।

पक्राउ परेकाहरू अपहरणकारीलाई सूचना तथा रसद उपलब्ध गराउने व्यक्तिहरू रहेको बताइएको छ ।

उद्धार अभियानमा सेना, प्रहरी तथा स्थानीय सुरक्षा समूह सक्रिय रहेका छन् । तर अपहरणकारीहरूले बाटोमा राखेका विस्फोटक पदार्थका कारण उद्धार टोलीमाथि आक्रमण हुँदा केही सुरक्षाकर्मी घाइते भएको र उनीहरूको उपचार भइरहेको राज्य सरकारले जनाएको छ ।

मिस नेपाल हङकङले गर्यो क्यान्सर सचेतना कार्यक्रम

काठमाडौं। व्यापारिक सहर हङकङको प्रसिद्ध पर्यटकीय स्थल ‘द पिक’ मा क्यान्सर सचेतना तथा फन्डरेजिङ हाइकिङ कार्यक्रम आयोजना गरिएको छ ।

मिस नेपाल हङकङ इन्टरनेसनल दीपमाला खरेलको संयोजन तथा नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरसँगको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रमको मुख्य उद्देश्य पर्सा जिल्लाका आर्थिक रूपमा विपन्न दुई सय महिलाहरूका लागि नि:शुल्क क्यान्सर स्क्रिनिङका लागि आर्थिक सहयोग जुटाउनु रहेको हो ।

कार्यक्रममा १३० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूको उत्साह देखेर संयोजक दीपमाला खरेल भावुक बनेकी थिइन् । उनले कार्यक्रममा भनिन्, ‘यो केवल हाइकिङ होइन, नेपाली समुदायको सामूहिक चेतना र सहयोगको अभियान हो ।’

कार्यक्रमअन्तर्गत सर्भिकल क्यान्सर र ब्रेस्ट क्यान्सरको प्रारम्भिक पहिचान, सचेतना तथा नि:शुल्क स्क्रिनिङमा विशेष जोड दिइएको आयोजकले जनाएको छ । नेपाल क्यान्सर अस्पतालका चिकित्सक तथा नर्सहरूको टोली गाउँमै पुगेर परीक्षण, परामर्श र उपचार गर्ने तयारीमा रहेको छ ।

आयोजकका अनुसार क्यान्सरको प्रारम्भिक चरणमा पहिचान भएमा उपचार सम्भव हुने भएकाले ग्रामीण क्षेत्रमा नियमित स्क्रिनिङ अभियान सञ्चालन गरिएको हो ।

कार्यक्रम केवल हाइकिङमा सीमित नभई प्रवासमा रहेका नेपाली समुदायबीच एकता, सहयोग र मानवीय भावनाको सन्देश फैलाउने माध्यम बनेको आयोजकहरूको भनाइ छ ।

सहभागीहरूले २०० हङकङ डलरदेखि ४ हजार हङकङ डलरसम्म सहयोग गरेका थिए । वर्षाका कारण केही असुविधा भए पनि कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको थियो ।

समारोहमा नेपाली तथा विदेशी विद्यार्थीहरू, सामाजिक अभियन्ता, खेलाडी र विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । साथै, नेपाली महावाणिज्य दूतावास हङकङसँग सम्बन्धित अधिकारीहरूको उपस्थितिले कार्यक्रमलाई थप गरिमा प्रदान गरेको आयोजकले जनाएको छ ।

आयोजकहरूका अनुसार यो अभियानले क्यान्सर सचेतना मात्र होइन, प्रवासमा रहेका नेपाली समुदायको सामाजिक उत्तरदायित्व र एकताको भावना पनि सुदृढ बनाएको छ ।