`

नेप्से लाग्यो ओरालो

काठमाडौं । मंगलबार सेयर बजारमा नेप्से परिसूचक घटेको छ । नेप्से ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा पुगेको हो ।

तर, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । सोमबार २ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

यसदिन ३४६ वटा धितोपत्रको ७८ लाख १६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार विवरणअनुसार ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटाको घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

मूल्य वृद्धिमा कर्पोरेट डेभलपमेन्ट अगाडि देखिएको छ । उक्त कम्पनीको सेयर मूल्य १४.२६ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ३०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ६.४१ प्रतिशतले बढेर ३७३ रुपैयाँ ५० पैसा पुगेको छ ।

सबैभन्दा धेरै घट्नेमा सिटी होटल रहेको छ । यसको मूल्य ६.८४ प्रतिशतले घटेर ३६८ रुपैयाँमा झरेको छ ।

थ्री स्टार हाइड्रोपावरको मूल्य पनि ५.८२ प्रतिशतले घटेर ५५० रुपैयाँ कायम भएको छ ।

कारोबार रकमका आधारमा सिटी होटल शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३६८ रुपैयाँ दरमा २३ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

दोस्रो स्थानमा साहस ऊर्जा रहेको छ, जसको ६५३ रुपैयाँ दरमा ९ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

क्षेत्रगत परिसूचकतर्फ १३ मध्ये ४ समूहको सूचक बढेको छ भने ९ समूह घटेका छन् । व्यापार समूहको सूचक सर्वाधिक १.२४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

‘कान्स’ रेड कार्पेटमा नेपाली अभिनेत्री अदिति

एजेन्सी। केही दिनदेखि फ्रान्समा जारी विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नेपाली अभिनेत्री अदिति बुढाथोकी सहभागी भएकी छन् । उनले सोमबार रेड कार्पेटमा हिँडेका तस्बिरहरू इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छन् ।

शिवांगी प्रधानले तयार पारेको गाउनमा सजिएर उनले रेड कार्पेटमा आफ्नो उपस्थिति जनाएकी हुन् । अदिती बीएमडब्लु गाडीको भारतीय प्रतिनिधिको रूपमा फेस्टिभलमा सहभागी भएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पहिलो पटक कान्सको रेड कार्पेटमा हिँड्नु मेरा लागि अविश्वसनीय अनुभूति रह्यो । सुन्दर अनुभवका लागि बीएमडब्लु इन्डियालाई धन्यवाद ।’

यसपटक फेस्टिभलमा अन्य नेपाली फिल्मकर्मीहरूको पनि उपस्थिति देखिएको छ । यही बिहीबार प्रिमियर हुने नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’का निर्देशक अविनाश विक्रम शाह सोमबार रेड कार्पेटमा सहभागी भएका थिए ।

त्यस्तै, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, अभिनेता प्रदीप खड्का, निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ, फिल्म ‘एक्लो’का निर्देशक प्रदीप शाही र निर्माता अनुप पौडेल पनि फेस्टिभलमा सहभागी छन् ।

फेस्टिभल स्थलमा चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाली फिल्म प्रवर्द्धनका लागि स्टलसमेत राखिएको छ । कान्स फिल्म फेस्टिभल मे २४ सम्म चल्नेछ ।

बारको विरोध : बाल्यो दिउँसै लालटिन [तस्वीरहरू]

काठमाडौं। सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको विरोधमा कानुन व्यवसायीहरूले दिउँसै लालटिन बालेर विरोध गरेका छन्।

कानुन व्यवसायीहरूले नेपाल बार एसोसिएसन परिसरमा भेला भएर विरोध गरेका हुन्।

न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने भन्दै बारले विरोध गरेको हो।

तस्वीरहरू:

 

सर्वोच्च इजलासको लाइभ प्रसारण गर्न रास्वपा सांसदको माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपक बोहराले सर्वोच्च अदालतका इजलासहरूको प्रत्यक्ष प्रसारण गर्न सुझाव दिएका छन् ।

आइतबार संसदीय सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग सम्बन्धित छलफलमा बोल्दै उनले न्यायिक प्रक्रिया पारदर्शी बनाउन यस्तो व्यवस्था आवश्यक रहेको बताए ।

उनले न्याय ढिलो हुनु न्याय नपाउनु सरह हुने टिप्पणी गर्दै अहिलेको प्रणालीमा ढिलाइका कारण सर्वसाधारण प्रभावित भइरहेको बताए ।

‘पैसा हुनेहरूले निमुखालाई मुद्दा हालेर दुःख दिने परिपाटी पनि देखिएको छ,’ उनले भने ।

बोहराले अदालतले कुन मुद्दा लिने र कुन नलिने भन्ने विषयमा स्पष्टता र संवेदनशीलता आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘यदि इजलासको प्रत्यक्ष प्रसारण हुने हो भने न्यायाधीशले जथाभाबी गर्न सक्दैन, किनकि सबैले हेरिरहेका हुन्छन् । अहिले संसद पनि प्रत्यक्ष प्रसारण भइरहेको छ, संसारभरबाट हेर्न सकिन्छ ।’

उनका अनुसार प्रत्यक्ष प्रसारणले न्यायिक प्रक्रियामा पारदर्शिता बढाउने र पक्ष-विपक्षका तर्क तथा प्रमाण स्पष्ट देखिने अवस्था सिर्जना गर्नेछ ।

‘इजलासको लाइभ हुँदा दायाँ-बायाँ के भइरहेको छ, कसको तर्क के छ, सबै स्पष्ट हुन्छ,’ उनले बताए ।

प्रस्तावित प्रधानन्यायाधीश शर्मा संसदीय सुनुवाइ समितिमा

काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मा संसदीय सुनुवाइ समितिको बैठकमा उपस्थित भएका छन् । संवैधानिक परिषद्को सिफारिसपछि उनको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको हो ।

सिंहदरबारस्थित संघीय संसद् भवनमा बसेको समितिको बैठकमा शर्माले आफ्नो कार्ययोजना, न्यायपालिकाको सुधार, न्याय सम्पादनमा पारदर्शिता तथा जनविश्वास अभिवृद्धिबारे धारणा प्रस्तुत गरेका छन् । उनले न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र प्रभावकारी संस्थाका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

बैठकमा सांसदहरूले न्यायपालिकाभित्र देखिएका विकृति, मुद्दा फर्छ्योटमा ढिलाइ, न्यायाधीश नियुक्तिको मापदण्ड, राजनीतिक प्रभाव, भ्रष्टाचार नियन्त्रण तथा अदालतप्रति घट्दो जनविश्वासबारे प्रश्न उठाएका थिए ।

जवाफमा शर्माले न्यायालयभित्र सुशासन कायम गर्न आवश्यक सुधारात्मक कदम अघि बढाइने बताए । उनले अदालतमा प्रविधिको प्रयोग विस्तार गरेर सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने योजना पनि सुनाए ।

साथै, सर्वोच्च अदालतसहित मातहतका अदालतमा देखिएको जनशक्ति अभाव, पूर्वाधार समस्या र मुद्दाको चाप व्यवस्थापनका लागि विशेष पहल गरिने उनको भनाइ थियो ।

उनले न्यायालयको गरिमा जोगाउन आचरण, निष्पक्षता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समितिले उजुरी, सार्वजनिक टिप्पणी तथा सांसदहरूको प्रश्नोत्तरका आधारमा निर्णय प्रक्रिया अघि बढाउनेछ । समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट उनलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरिने संवैधानिक व्यवस्था छ।

ठगी प्रकरणमा लामिछानेसहित तीन जना पक्राउ

काठमाडौं। अनलाइन ठगीमा संलग्न रहेको आरोपमा गोरखाका एक वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका-२ का वडा सदस्य लक्ष्मण लामिछाने, सिरानचोक गाउँपालिका–७ का यदु पाण्डे र भीमसेन थापा गाउँपालिका–४ की कोपिला लामिछाने रहेका छन् ।

रौतहटको चन्द्रनिगाहपुर-२ निवासी रेनुमाया थिङको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित थिङले ‘चिट्ठा परेको’ भन्दै विभिन्न बहानामा आफूबाट करिब ७० लाख रुपैयाँ ठगी गरिएको आरोप लगाएकी छन् ।

घटनापछि रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले गोरखाका सर्वसाधारणलाई कर्जा मिलाइदिने प्रलोभन देखाउँदै विभिन्न बैंकमा खाता खोल्न लगाउने गरेको खुलेको छ । विशेषगरी एनआईसी एसिया बैंक र गरिमा विकास बैंकका खातामार्फत ठगी रकम जम्मा र कारोबार गर्ने गरिएको देखिएको प्रहरीले जनाएको छ ।

‘गाउँलेलाई सहज रूपमा ऋण उपलब्ध गराइदिने भन्दै खाता खोल्न लगाइन्थ्यो । खाता खोलेबापत १०-१० हजार रुपैयाँ दिने गरिएको देखिएको छ,’ प्रहरी उपरीक्षक रिजालले भने ।

उनका अनुसार खोलिएका खातामा ठगीबाट प्राप्त रकम जम्मा गरी कारोबार सञ्चालन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनापछि भीमसेन थापा गाउँपालिका–४ का स्थानीयवासी आक्रोशित बनेका छन् । उनीहरूले आफूहरूलाई भ्रममा पारेर बैंक खाता खोल्न लगाइएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रहरीले यस प्रकरणमा थप व्यक्तिको पनि संलग्नता हुन सक्ने आशंकासहित अनुसन्धान जारी राखिएको जनाएको छ ।

देउवा कांग्रेसको कार्यालय अनामनगरमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेको छ।

पूर्वसभापति शेरबहादुर देउवाको लिगेसी बोक्ने नेताहरूको पहलमा अनामनगरमा उक्त कार्यालय खोलिएको हो।

नेताहरू गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले, केदार कार्कीलगायतको सक्रियतामा कार्यालय स्थापना गरिएको बताइएको छ।

सम्पर्क कार्यालयमा बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा र खुमबहादुर खड्कासहितका नेताहरूको तस्वीर राखिएको छ।

ट्रम्पलाई क्युबाका राष्ट्रपति क्यानेलले दिए रक्तपातको चेतावनी

एजेन्सी। क्युबाका राष्ट्रपति मिगुएल डियाज-क्यानेलले अमेरिकाले आफ्नो देशविरुद्ध सैन्य कारबाही गरे अकल्पनीय परिणामसहितको रक्तपात हुन सक्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उनले क्युबाले कुनै पनि देशविरुद्ध आक्रामक योजना नबनाएको र अमेरिकाका लागि खतरा नबनेको स्पष्ट पारे ।

‘क्युबाले कुनै देशलाई धम्की दिएको छैन । अमेरिकाविरुद्ध पनि हाम्रो कुनै आक्रामक योजना छैन,’ उनले भने ।

डियाज-क्यानेलले क्युबामाथि अमेरिकाले बहुआयामिक दबाब सिर्जना गरिरहेको आरोप पनि लगाए । उनले कुनै पनि सैन्य हमला भए क्युबाले आत्मरक्षाको पूर्ण अधिकार प्रयोग गर्ने चेतावनी दिएका छन् ।

हाल क्युबा र अमेरिका बीचको सम्बन्ध दशकौँयताकै कमजोर अवस्थामा पुगेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबामाथि नयाँ प्रतिबन्धहरू लगाएको छ। भने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले थप प्रतिबन्ध आउन सक्ने संकेत गरेका छन् ।

नयाँ प्रतिबन्धअन्तर्गत क्युबाका गुप्तचर निकाय, गृह मन्त्रालय तथा उच्च अधिकारीहरूलाई लक्षित गरिएको छ ।

यसैबीच क्युबामा ऊर्जा संकट गहिरिँदै गएको छ । रूसबाट आएको अन्तिम तेल आपूर्ति समाप्त भएसँगै लामो समयसम्म विद्युत् कटौती हुने चेतावनी सरकारी अधिकारीहरूले दिएका छन् ।

अमेरिकी नयाँ नियमका कारण प्रमुख ढुवानी कम्पनीहरूले क्युबासँगको सेवा बन्द गरेपछि खाद्यान्न अभाव झन् बढ्ने चिन्ता पनि व्यक्त गरिएको छ ।

‘प्रधानमन्त्री र अर्थमन्त्री नआउने, सदन कसरी चल्छ?’ – सांसद राई

काठमाडौं। नेकपा एमालेका सांसद राजेन्द्र राईले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्थमन्त्री अनुपस्थित रहेको अवस्थामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न नसकिने बताएका हुन् ।

उनले प्रधानमन्त्री र अर्थमन्त्री दुवै सदनमा अनुपस्थित हुने प्रवृत्तिप्रति आपत्ति जनाउँदै प्रश्न गरे, ‘प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने, कसरी चल्छ यो सदन ?’

उनले थपे, ‘म थितिलाई बदल्न चाहन्न। यहाँ तपाईँहरूले हेप्नुभयो। प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने, अब तपाईँ पनि आएन भने यहाँ कसले सभा सञ्चालन गर्छ? गम्भीर प्रश्न बनिसक्यो। अब प्रतिपक्षलाई दिनुस्। हामी चलाउँछौँ यो देश। देश चलाउने हिम्मत हामीसँग छ। हिजो पनि चलाएको, आज पनि हामी चलाउँछौँ।’

सांसद राईले सरकारको यस्तो शैलीले संसदीय अभ्यास कमजोर बनाएको भन्दै आलोचना गरे ।

अर्थमन्त्री सदनमा नदेखिएपछि सत्ता र विपक्षी सांसद रिसाए

काठमाडौं । प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिबिना सभामुख डोलप्रसाद अर्यालले मंगलबार छलफल अघि बढाएपछि सदनमा तीव्र असन्तोष उत्पन्न भएको छ ।

सभामुख अर्यालले बैठक सञ्चालन गर्ने क्रममा सत्तारुढ र प्रतिपक्ष दुवै पक्षबाट विरोध भएको छ । अन्ततः बैठक १५ मिनेटका लागि स्थगित भएको हो।

सभामुख अर्यालले निर्धारित कार्यसूचीअनुसार विनियोजन विधेयकमाथि छलफल प्रारम्भ गर्दा धेरै सांसदले संसदीय परम्परा र प्रक्रियामाथि प्रश्न उठाए।

प्रतिपक्षी दल एमालेका सांसद राजेन्द्र राईले कडा प्रतिक्रिया जनाए ।
रोस्ट्रममा उभिएर उनले भने, ‘अर्थमन्त्री बिना म बोल्दिनँ ।बजेटमाथि उठ्ने प्रश्नको जवाफ दिने व्यक्ति नै सदनमा उपस्थित छैन भने छलफलको अर्थ के ?’

सभामुख अर्यालले उनलाई मनाउने प्रयास गर्दै ‘तपाईं बोल्दै गर्दा अर्थमन्त्री आइपुग्नुहुन्छ, त्यहीबेलादेखि बोलेको गणना गर्छु,’ भने पनि सांसद राईले प्रस्ताव अस्वीकार गरे।

राई रोस्ट्रममा बसेपछि सभामुख अर्याल बैठक स्थगित गर्न बाध्य भए ।

राईभन्दा अघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पनि अर्थमन्त्री वाग्लेको अनुपस्थितिलाई ‘संसदीय परम्परामाथिको गम्भीर प्रहार’ भने।

सिंहले सदनमा भने, ‘अर्थमन्त्री बिना बजेटको दफावार छलफल कसरी चल्छ ? २० वर्षको कार्यकालमा यस्तो परम्परा कहिल्यै देखिनँ । यस्तो अभ्यास संसदीय मर्यादा र प्रक्रियाविपरीत हो।’

उनले थपे, ‘संसद प्रक्रियाले चल्छ, कसैको व्यक्तिगत निर्णयले होइन। विनियोजन विधेयक अर्थमन्त्रीकै उपस्थितिमा छलफल हुन्छ भन्ने मूल व्यवस्था नै तोडियो।’

सिंहले नयाँ अभ्यासको नाममा स्थापित परम्परा भत्काउने हो भने संसद र संसदीय प्रणालीको औचित्य नै समाप्त मात्रै हुने बताए । यदि त्यसै गर्ने भए सिहदरबार भत्काउन, प्रधानमन्त्री र मन्त्री पद पनि भत्काउनुपर्ने बताए ।

दोधारमा प्रहरी : दुर्गा प्रसाईंविरुद्ध कुन मुद्दा चल्दै?

काठमाडौं। सोमबार राति वीरगञ्जको एक होटलबाट पक्राउ परेका मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंविरुद्ध कुन मुद्दा चलाउने भन्नेबारे प्रहरी अझै निष्कर्षमा पुगेको छैन ।

सामान्यतया पक्राउ परेको २४ घण्टाभित्र म्याद थप गरी हिरासतमा राख्ने कानुनी व्यवस्था भए पनि हाल अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार साइबर अपराधसँगै राज्यविरुद्धको कसुर आकर्षित हुने सम्भावना देखिए पनि अन्तिम निर्णय भइनसकेको हो ।

‘साइबर क्राइमसँग राज्यविरुद्धको कसुर आकर्षित हुने सम्भावना देखिन्छ तर अहिलेसम्म निष्कर्ष निकालिएको छैन,’ उनले भने ।

प्रहरीका अनुसार वीरगञ्जका सार्वजनिक तथा अतिक्रमित संरचना हटाउने सरकारी अभियानको विरोधमा प्रसाईंले सरकारविरुद्ध जनतालाई उक्साउने गतिविधि गरेको आरोप छ ।

उनले पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न डिजिटल माध्यममार्फत अभिव्यक्ति तथा भिडियोहरू प्रसारण गर्दै आएको र ती सामग्रीको डिजिटल परीक्षण भइरहेको पनि प्रहरीले जनाएको छ ।

सोमबार विभिन्न कार्यक्रमका लागि वीरगञ्ज पुगेका प्रसाईं पक्राउ परेका हुन् । उनलाई हाल थप अनुसन्धानका लागि सुरक्षा निगरानीमा राखिएको छ ।

म रोष्ट्रम छोड्दै छोड्दिन भनेपछि(भिडियाे)

काठमाडौं। सभामुख डोलप्रसाद अर्याले प्रतिनिधि सभा बैठक स्थगित गरेका छन् । उनले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिनै विनियोजन विधेयकमाथिको छलफल अगाडि बढाउँदा सत्तारुढ रास्वपा र विपक्षी दलका सांसदहरूले चर्को आलोचना गरे ।

नयाँको नाममा स्थापित परम्परा भत्काउँदै अर्थमन्त्रीको उपस्थिति बिना विनियोजन विधेयकमाथिको छलफल चलाउनु सान्दर्भिक नहुने भन्दै सांसदहरूले विरोध गरे ।

विपक्षी दल एमालेका सांसद राजेन्द्र राईले अर्थमन्त्रीको उपस्थितिबिना बैठकमा आफ्नो कुरा नराख्ने बताए ।

सभामुख अर्यालले सांसद राईलाई कुरा राख्दै गर्दा अर्थमन्त्री आइपुग्ने र बोल्ने समय अर्थमन्त्री आइपुगेपछि गणना गर्ने भनेका थिए ।

सभामुखको यस्तो प्रस्ताव सांसद राईले अस्वीकार गरे । उनी चुपचाप रोस्ट्रममा बसे । यसपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।\

 

लालटिन बालेर कानुन व्यावसायीको प्रदर्शन

काठमाडौं । कानुन व्यवसायीहरूले लालटिन बालेर विरोध प्रदर्शन गरेका छन्।

सर्वोच्च अदालतमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध जनाउँदै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च परिसरमा उक्त प्रदर्शन गरिएको हो।

एसोसिएसनको आइतबार बसेको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने अवस्था बनेको भन्दै त्यसको विरोधस्वरूप दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो।

त्यसैअनुसार सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालेर विरोध कार्यक्रम गरिएको हो।

सभामुखले बोल्न समय दिएनन्, हर्क साम्पाङ बैठक छाडेर हिँडे

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क सामपाङले प्रतिनिधि सभा बैठक छाडेर हिँडेका छन् ।

उनले उठेर सभामुख डोलप्रसाद अर्यालसँग बोल्न समय मागेका थिए ।

सभामुख अर्यालले उनलाई बोल्न समय दिएका छैनन् । साम्पाङले सभामुख अर्याल र बालेन सरकारको आलोचना गरिरहे ।

उनलाई बोल्न सभामुख अर्यालले माइकसमेत दिएनन् । यसपछि साम्पाङ झोला बोकेर बैठकबाट हिँडेका छन् ।

सुलभ अग्रवालसँग हिरासतमा आइप्याड भेटिएपछि

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेर हाल हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवालसँग केही समयअघि आइप्याड फेला परेको सूचना बाहिरिएपछि प्रहरीले उक्त विषयमा छानबिन सुरु गरेको छ।

हिरासतमा रहेका अग्रवालले जिल्ला प्रहरी परिसर ललितपुरमा रहँदा भित्रै आइप्याड प्रयोग गरेको भन्दै उजुरी परेपछि छानबिन समिति गठन गरिएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी ओम अधिकारीको नेतृत्वमा घटनाबारे अनुसन्धान भइरहेको छ। अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ।

यसैबीच, यस घटनाको छानबिन केही समयदेखि जारी रहेको र उनलाई हाल जिल्ला प्रहरी परिसरबाट विभागको जिम्मा लगाइसकिएको छ।

२ वर्षदेखि इजरायल जाने पर्खाइमा रहेका युवाहरू उत्रिए माइतीघर [तस्वीरहरू]

काठमाडौं। इजरायल रोजगारी खुल्ने विषय अन्योलमा पर्दा विगतदेखि प्रक्रिया पूरा गरेर प्रतीक्षामा रहेका नेपाली युवाहरू आन्दोलित बनेका छन्।  उनीहरूले आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

वैदेशिक रोजगार विभागले इजरायल रोजगारीको नयाँ प्रक्रिया चाँडै सुरु हुने संकेत दिए पनि हालसम्म आधिकारिक सूचना सार्वजनिक नगर्दा हजारौँ उम्मेदवार अन्योलमा परेका हुन्।

वि.सं. २०८१ मा भएको गोलाप्रथा (लकी ड्र) मा छनोट हुन नसकेका उम्मेदवारहरूलाई आगामी कोटामा स्वतः समावेश गरिने आश्वासन विभागका अधिकारीहरूले पटक–पटक दिँदै आएका थिए। यही विश्वासका आधारमा धेरै युवाहरूले नयाँ आवेदन प्रक्रिया कुर्ने निर्णय गरेका थिए। तर लामो समय बितिसक्दा पनि ठोस निर्णय नआउँदा उनीहरूमा निराशा बढ्दै गएको छ।
पीडित उम्मेदवारहरूले आफूहरूलाई पुनः नयाँ गोलाप्रथामा सहभागी गराउनु अन्याय हुने बताएका छन्। उनीहरूका अनुसार विगत दुई वर्षदेखि सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेका उम्मेदवारलाई फेरि प्रारम्भिक चरणबाटै प्रक्रिया थाल्न बाध्य बनाइनु मानसिक तथा आर्थिक रूपमा ठूलो बोझ हो।
आफ्ना माग सम्बोधन गराउन उम्मेदवारहरूले निरन्तर रूपमा विभिन्न सरकारी निकायमा धाइरहेका छन्। उनीहरूले वैदेशिक रोजगार विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयमा डेलीगेसन जाने र ज्ञापनपत्र बुझाउने कार्य गर्दै आएका छन्।
यसबीच, सञ्चार माध्यमहरूमा इजरायलका लागि करिब २३०० नयाँ कोटा खुल्ने तयारी भइरहेको र पुराना उम्मेदवारहरूले समेत पुनः नयाँ लकी ड्र प्रक्रियामा सहभागी हुनुपर्ने समाचार सार्वजनिक भएपछि पीडित उम्मेदवारहरूको असन्तुष्टि थप चर्किएको छ।
उम्मेदवारहरूले सरकारसँग विगतदेखि रोकिएका योग्य उम्मेदवारहरूका लागि छुट्टै कोटा सुरक्षित गर्न माग गरेका छन्। उनीहरूका अनुसार पुराना उम्मेदवारको हक सुनिश्चित नगरी नयाँ प्रतिस्पर्धामा धकेलिनु राज्यको गैरजिम्मेवारपूर्ण कार्यशैलीको उदाहरण हो।
पीडित युवाहरूले नेपाल सरकार र सम्बन्धित मन्त्रालयलाई यस विषयमा गम्भीर बन्न आग्रह गर्दै पुराना उम्मेदवारहरूको हक सुरक्षित हुने गरी तत्काल स्पष्ट निर्णय सार्वजनिक गर्न माग गरेका छन्।

प्रतिपक्षी सांसदको प्रश्न -‘केन्द्रीय सरकार खै ?’

काठमाडौं। प्रतिपक्ष दल श्रम संस्कृति पार्टी, नेपालले केन्द्रीय सरकार जनतासँग जोडिन नसकेको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद ध्रुवराज राईले ‘केन्द्रीय सरकार कहाँ छ ?’ भन्दै प्रश्न उठाएका हुन् ।

उनले गत चैतमा भोजपुरमा आएको हावाहुरीका कारण ६५ घर र ८ विद्यालयका छाना उडेको भए पनि हालसम्म राहत नपुगेको बताए ।

‘केन्द्रीय सरकार खै ? चैतमा हावाहुरीले भत्काएको घरको बारेमा सरकारलाई अनुरोध गरेको थिएँ,’ उनले भने, ‘आजसम्म पनि ती घरहरूमा कुनै राहत पुगेको छैन । त्यस्तै ८ वटा विद्यालयका छाना उडाएको छ, तर सरकार मौन छ ।’

सांसद राईले पीडित नागरिकको आवाज सरकारले नसुनेको भन्दै तत्काल राहत तथा पुनर्निर्माणमा ध्यान दिन माग गरेका छन् ।

सर्वोच्चले असहयोग गरेको भन्दै शर्मालाई आजै पदबहाली गराउने सरकारको तयारी

काठमाडौं । सर्वोच्च अदालतका नयाँ प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज शर्मा लाई आजै पदबहाली गराउने तयारी गरिएको छ।

सत्तापक्षले सर्वोच्च अदालतले सरकारलाई अपेक्षित सहयोग नगरेको निष्कर्षसहित प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तीव्र बनाएको बताइएको छ। संवैधानिक परिषद्ले वैशाख २४ गते शर्मालाई नेपालको ३३औँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको थियो।

शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका छन्। ती उजुरीमाथिको सुनुवाइ मंगलबार बिहानदेखि सुरू भइसकेको छ।

सत्तारूढ पक्षका एक नेताका अनुसार शर्मालाई आजै संसदीय सुनुवाइबाट अनुमोदन गराउने र बुधबारदेखि नै मुद्दाको कजलिस्ट तोक्ने गरी प्रक्रिया अघि बढाइएको छ।

प्रधानन्यायाधीश अनुमोदन भएपछि संसद सचिवालयले त्यसको जानकारी राष्ट्रपति कार्यालयमा पठाउने संवैधानिक व्यवस्था छ। त्यसपछि राष्ट्रपति कार्यालयले शपथ ग्रहणको समय निर्धारण गर्ने प्रचलन रहेको छ।

स्रोतका अनुसार आज बेलुका ६ बजाभित्रै शपथ गराउने गरी राष्ट्रपति कार्यालयसँग समन्वय भइरहेको छ। शपथपछि डा. शर्मा आजै साँझ सर्वोच्च अदालतमा पदबहाली गर्ने तयारी रहेको बताइएको छ।

यद्यपि, राष्ट्रपति कार्यालयले भने हालसम्म शपथ ग्रहणबारे कुनै औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ ।

रोल्पामा सकेट बम फेला

रोल्पा । रोल्पामा सकेट बम फेला परेको छ। परिवर्तन गाउँपालिका–३ बागमारास्थित पाछावाङ खोलामा जाली लगाउनका लागि खन्ने क्रममा मंगलबार बिहान दुई वटा सकेट बम भेटिएको हो।

शंकास्पद वस्तु देखिएपछि त्यहाँ कार्यरत मजदुरले तत्काल सुरक्षा निकायलाई खबर गरेका थिए। सूचना पाएलगत्तै सूर्य दलगण लिबाङको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो।

प्रमुख सेनानी ईश्वर थापाका अनुसार ती शंकास्पद वस्तु सकेट बम भएको पुष्टि भएको छ। सुरक्षा निकायले उक्त बम माओवादी सशस्त्र द्वन्द्वका समयमा राखिएको हुन सक्ने अनुमान गरेको छ।

‘रास्वपा सरकार बनायौँ, हामीले के पायौँ?’(भिडियाे)

काठमाडौं । राप्रपाकी सांसद सरस्वती लामाले बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै उनले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले जनताको जीवन कष्टकर बनेको बताइन्। बजारमा चामल, दाल, तरकारीलगायत खाद्य सामग्रीको मूल्य आकासिएको तथा सार्वजनिक यातायात, खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको भाउ बढ्दा जनजीवन प्रभावित भएको उनको भनाइ थियो।

लामाले सरकारले जनतालाई सुशासनको अनुभूति गराउन नसकेको आरोप लगाइन्। उनले महँगी नियन्त्रण, मूल्यवृद्धि रोकथाम र जनतालाई राहत दिन सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको टिप्पणी गरिन्।

‘जनताको आम्दानी उस्तै छ, तर खर्च निरन्तर बढिरहेको छ,’ उनले भनिन्, ‘सामान्य नागरिकको दैनिक जीवन धान्नै कठिन भइरहेको अवस्थामा सरकारको उपस्थिति अनुभूत हुन सकेको छैन।’

उनले खाद्यान्न, शिक्षा, स्वास्थ्य, बसोबासलगायत आधारभूत आवश्यकतासमेत सर्वसाधारणको पहुँच बाहिर जान थालेको बताइन्। मजदुर, किसान, कर्मचारी, विद्यार्थी तथा निम्न र मध्यम वर्ग सबैभन्दा बढी मारमा परेको उनको भनाइ थियो।

सांसद लामाले बजार अनुगमन कडा बनाउन, कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कारबाही गर्न, पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा लगाइएको कर पुनरावलोकन गर्न तथा कृषि उत्पादन र आपूर्ति प्रणालीलाई सुदृढ बनाउन सरकारसँग माग गरिन्।

‘मलाई केही थाहा छैन’ : गर्भवतीको आरोपबारे सांसद कार्कीको प्रतिक्रिया

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्की ले विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे आफू अनभिज्ञ रहेको बताएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै कार्कीले सार्वजनिक भइरहेका सामग्रीबारे आफूलाई जानकारी नभएको दाबी गरे। सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएको समाचारप्रति प्रतिक्रिया दिन आग्रह गरिएपछि उनले आफूमाथि लगाइएको आरोप पुष्टि हुने कुनै प्रमाण नभएको जिकिर गरे।

आफूमाथि फैलाइएको भिडियो र विवरणमा देखाइएको व्यक्तिसँग आफू नमिल्ने दाबी गर्दै उनले शरीरमा ट्याटु नभएको देखाएर आरोपको खण्डन गर्ने प्रयास गरेका थिए। साथै, उनले विषयमा आवश्यक अनुसन्धान भएपछि मात्रै थप प्रतिक्रिया दिने बताए।

कार्कीले आफू लामो समयदेखि नेपालबाहिर बस्दै आएको उल्लेख गर्दै विगतसँग जोडेर गरिएका आरोपहरू आधारहीन भएको दाबी गरे। उनले प्रमाणबिनै आरोप लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरे।

यसैबीच, उनी संसद्मा बोल्न नाम टिपाएर पनि नबोलेको विषयसमेत चर्चामा आएको थियो। कार्कीले भने आफूले शून्य समयमा बोल्न हस्ताक्षर नगरेको दाबी गरेका छन्।

संक्षिप्त प्रतिक्रिया दिएपछि उनी मोटरसाइकल चढेर संसद भवनबाट बाहिरिएका थिए।

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २८ बर्षीय सन्दिप पक्राउ

काठमाडाै। स्याङ्जामा एक १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २८ बर्षीय सन्दिप विक पक्राउ परेका छन् ।

हरिनास गाउँपालिका६ का विकले गएको शुक्रवार रातको करिब ११ बजे ती बालिकालाई जवरजस्ती गरेको आरोप लागेको हो।

आफन्तका सूचनाका आधारमा प्रहरीले शनिवार आरोपित विकलाई सोही स्थानबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।

स्याङ्जा जिल्ला अदालतले आइतवार ५ दिनको म्याद थपगरी थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ ।

पक्राउ परेका विकलाई जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।

जबरजस्ती करणीको सूचना प्रहरीमा पुगेपछि प्रहरी कार्यालय स्याङ्जा र इलाका प्रहरी कार्यालय चिसापानीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विकलाई पक्राउ गरेको थियो । विक सोही स्थानका स्थायी बासिन्दा हुन् ।

‘आलुकै भात, आलुकै अचार, आलुको तरकारी खानुपर्ने अवस्था छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था अत्यन्तै खराब रहेको बताएका छन् ।

मंगलबार (जेठ ५) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कैलाश, राक्सिराङ, थाहा, इन्द्रसरोवर र भीमफेदीलगायतका पालिकाका सडकहरूमा एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था रहेको उल्लेख गरे ।

‘अब चार महिना त्यहाँका नागरिक आइसोलेसनमा बस्नुपर्ने अवस्था छ,’ उनले भने, ‘एकातिर थाहामा उत्पादन भएको आलुको भाउ १० रुपैयाँ पुगेको छ ।’

सांसद उप्रेतीले सडक अवस्थाकै कारण स्थानीय उत्पादनको उचित बजार नपाएको भन्दै व्यङ्ग्य पनि गरे ।

‘यस्तो तरिकाले त हरिबहादुरले भनेजस्तो आलुकै भात, आलुकै अचार, आलुको तरकारी खानुपर्नेछ थाहा छ,’ उनले भने, ‘अविलम्ब सडक निर्माणको काम अघि बढाउन र ठेकेदारलाई जवाफदेही बनाउन आवश्यक छ ।’

प्रधानन्यायाधीश पदमा सिफारिस भएका मनोज शर्मा विरुद्ध १६ वटा उजुरी

काठमाडौं ।  सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा सिफारिस भएका मनोज शर्मा विरुद्ध १६ वटा उजुरी दर्ता भएका छन्।

संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले शर्मा विरुद्ध उजुरी आह्वान गरेको थियो। संवैधानिक परिषद्को बहुमतले वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो।

उजुरीमाथि छलफल गर्न संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान बोलाइएको थियो । समितिको सभापतित्व बोधनारायण श्रेष्ठले गरिरहेका छन्।

समितिले उजुरी खोलेलगत्तै उजुरीकर्तासँग छलफल गर्ने तयारी गरेको छ। स्रोतका अनुसार मंगलबार दिउँसो १ बजेबाट उजुरीकर्तासँग छलफल गरिनेछ ।

शर्मा २०७६ साल वैशाखमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। त्यतिबेला पनि संसदीय सुनुवाइका क्रममा उनको कार्यक्षमता र प्रस्तुतीकरणबारे प्रश्न उठेको थियो।

तत्कालीन एमाले सांसद पार्वत गुरुङले शर्माको प्रस्तुति ‘इनर्जेटिक’ नभएको टिप्पणी गरेका थिए। त्यस्तै, वरिष्ठ अधिवक्ता शम्भु थापाले शर्मा सर्वोच्च अदालतको न्यायाधीश बन्न आवश्यक योग्यता नपुगेको भन्दै उजुरी दिएका थिए।

त्यसबेला अर्का सांसद शिवकुमार मण्डल केवटले अदालतको कमजोरी पहिचान गर्न नसक्ने व्यक्तिले सुधार गर्न नसक्ने टिप्पणी गरेका थिए।

सुनुवाइका क्रममा भने शर्माले आफू सर्वोच्च अदालतको नेतृत्वमा पुग्ने उद्देश्यसहित नआएको बताएका थिए।

सम्पदा र विकासलाई सन्तुलित बनाउन सरकारको ठोस कार्ययोजना के हो? : थेबे

काठमाडौं । ताप्लेजुङबाट निर्वाचित सांसद क्षितिज थेबेले पाथीभरा मन्दिर जाने निर्माणाधीन केबलकारको काम रोकिएको विषयमा सरकारसँग प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा बोल्दै उनले मौखिक आदेशका आधारमा काम रोकिएको भन्दै त्यसको आधिकारिकता स्पष्ट गर्न सरकारसँग माग गरे ।

‘संवेदनशील विषयमा सरकार मौन बस्न मिल्दैन । सरकारको स्पष्ट धारणा के हो ?’ उनले भने, ‘स्थानीय समुदाय, धार्मिक आस्था, सांस्कृतिक सम्पदा र विकासबीच सन्तुलन कायम राख्न सरकारको ठोस कार्य योजना के हो ?’

सांसद थेबेले  आधिकारिक जानकारी आवश्यक रहेको बताए ।

‘स्पष्ट मौखिक आदेश होइन, सरकारी स्पष्ट धारणा चाहिएको छ,’ उनले भने, ‘सबै पक्षबीच विश्वासको वातावरण बनाइयोस् ।’

विवादित रास्वपा सांसद कार्की दोषी देखिए कारबाही गर्न माग(भिडियाे)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीसँग जोडिएको विवादित विषय प्रतिनिधिसभामा उठेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाकी सांसद पार्वती विकले सांसद कार्कीमाथि लागेको आरोपबारे सदनको ध्यानाकर्षण गराएकी हुन्।

सांसद कार्कीमाथि नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर सम्पर्कविहीन भएको आरोप सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको भन्दै उनले त्यसबारे स्पष्टता माग गरिन्।

‘एकजना सत्तापक्षका सांसदले विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता भएको विषय सामाजिक सञ्जालमा यत्रतत्र फैलिएको छ,’ उनले भनिन्, ‘यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाली समाज र राष्ट्रको छविमाथि गम्भीर प्रश्न उठाएको छ।’

सांसद विकले उक्त घटनाको वास्तविकता सदनलाई जानकारी गराउन सरकारसँग माग गर्दै आरोप सत्य प्रमाणित भए सांसद कार्कीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन्।

बनेपामा राखिएका सुकुमवासीलाई सरकारले कैदीजस्तो व्यवहार गर्यो : विक

काठमाडौं । नेकपा (एमाले)की सांसद विष्णुमाया बिक ले सुकुम्बासीलाई ‘होल्डिङ सेन्टर’मा कैदीसरह राखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको आकस्मिक समयमा मंगलबार बोल्दै सांसद बिकले काठमाडौंबाट उठाएर बनेपामा राखिएका सुकुम्बासीहरूको अवस्था अत्यन्तै दयनीय रहेको बताइन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिले बनेपास्थित होल्डिङ सेन्टरको अनुगमन गर्दा त्यहाँ ११० जना सुकुम्बासी राखिएको पाइएको जानकारी दिइन्।

उनका अनुसार होल्डिङ सेन्टरमा नर्सरीदेखि प्लस टुसम्म अध्ययनरत २२ जना बालबालिका तथा पाँच जना ब्याचलर तहका विद्यार्थीसमेत रहेका छन्। घरमा डोजर चलेपछि एक युवा बोल्न नसक्ने अवस्थामा पुगेको तथा पठाओ चलाएर जीविका चलाइरहेका व्यक्तिको रोजगारीसमेत खोसिएको उनले बताइन्।

‘सुकुम्बासीलाई कैदीजस्तो थुनिएको छ,’ उनले संसद्मा भनिन्।

सांसद बिकले घर भत्काइएपछि केही व्यक्ति मानसिक तनावमा रहेको, सुत्केरी महिला कुपोषणको सिकार बनेको तथा मुटुरोगी दुर्गा गुरुङले उपचार नपाइरहेको अवस्था देखिएको उल्लेख गरिन्। मानसिक समस्या भएका मलन तामाङको उपचारको व्यवस्था समेत नभएको उनले बताइन्।

उनले गरिबीलाई अपराधका रूपमा हेर्न नहुने धारणा राख्दै सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक रहेको बताइन्।

‘गरिब हुनु अपराध होइन, सुकुम्बासी हुन कसैलाई रहर हुँदैन,’ उनले भनिन्, ‘गरिब होइन, गरिबी हटाउने नीति आवश्यक छ।’

ठूला-ठूला तस्करहरूलाई समात्न सरकारको ध्यान जाओस् – कांग्रेस सांसद केरुङ

काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सीमा क्षेत्रमा लागू गरिएको भन्सार करसम्बन्धी विषयमा सर्वोच्च अदालतको आदेश अझै कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमा क्षेत्रका नागरिकलाई दैनिक उपभोगका सामग्री ल्याउँदा दुःख दिइएको बताए ।

‘सीमा क्षेत्रमा बसोबास गर्ने आम नागरिकहरूको भान्सामा चाहिने अत्यावश्यक वस्तु, औषधिलगायतका विषय आयात गर्दा नागरिकलाई आतंकित गर्ने सरकारको निर्णयलाई अदालतले रोकेको छ,’ केरुङले भने, ‘तर अदालतको आदेश अहिलेसम्म कार्यान्वयन नहुँदा समस्या ज्यूँका त्यूँ छ ।’

उनले सर्वसाधारणमाथि कडाइ गर्नुभन्दा ठूला तस्करी समूहलाई नियन्त्रण गर्न सरकारलाई आग्रह गरे ।

‘सर्वसाधारण जनताको पेटमा लात्ती हान्नुभन्दा ठूला-ठूला तस्करहरूलाई समात्न सरकारको ध्यान जाओस्,’ उनले भने ।

पूर्व गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित छानबिन समितिबारे पनि उनले प्रश्न उठाए ।

‘निवर्तमान गृहमन्त्रीको प्रकरणमा छानबिन समिति गठन भएको छ,’ केरुङले भने, ‘केही दिनमा म सफाइ पाउँछु भन्ने उहाँको अभिव्यक्तिले आयोगमाथि प्रश्न उठाएको छ । आयोग सत्ता र शक्तिको त्रासमा निष्पक्ष छानबिन गर्ने दायराबाट नउम्कोस् ।’

भगवानको रक्षा गर्न खरेलले गरे सरकारसँग माग(भिडियाे)

काठमाडौं ।  ललितपुरमा देवताका मूर्ति चोरीका घटना बढ्दै गएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल ले चिन्ता व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खरेलले पछिल्लो समय ललितपुर क्षेत्रमा देवताका मूर्ति चोरी हुने घटना तीव्र बनेको बताए। उनले धार्मिक तथा सांस्कृतिक सम्पदामाथि भइरहेको आक्रमण रोक्न सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।

खरेलले ऐतिहासिक तथा धार्मिक महत्व बोकेका मूर्तिहरूको संरक्षणका लागि प्रभावकारी सुरक्षा व्यवस्था आवश्यक रहेको उल्लेख गरे। उनले यस्ता घटनाले स्थानीय समुदायको आस्था र सांस्कृतिक पहिचानमाथि असर पुग्ने बताए।

सांसद खरेलले मूर्ति चोरीमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न तथा सम्पदा संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने मागसमेत गरेका छन्।

५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० रुपैयाँले बढेर दुई लाख ९५ हजार ३०० रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले वृद्धि भएको छ । सोमबार पाँच हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि प्रतितोला पाँच हजार ८५ रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।

 

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक,एजेन्डा के ?

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलवार दिउँसो ४ बजे बस्नेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकको एजेन्डाबारे भने जानकारी सार्वजनिक गरिएको छैन ।

सांसद न्यौपानेले भने- ‘लाल्टिन बाल्ने रे! अब हाँसौं कि रोऔं?’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले नेपाल बार एशोसिएशनले थालेको लाल्टिन आन्दोलनप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले बारको नेतृत्व र आन्दोलनको औचित्यमाथि प्रश्न उठाउँदै व्यङ्ग्य गरेका हुन् ।

न्यौपानेले नवोदित कानुन व्यवसायीका समस्या, गरिब तथा असहाय नागरिकले न्याय नपाउँदा बार मौन बसेको आरोप लगाए । उनले न्याय सम्पादनमा विचलन आउँदा, विवादास्पद फैसला हुँदा र भ्रष्टाचारका मुद्दा तामेलीमा जाँदा पनि बार नेतृत्व मौन रहेको टिप्पणी गरेका छन् ।

उनले राजनीतिक भागबन्डामा न्यायाधीश नियुक्ति हुँदा, कर्मचारीतन्त्रमा राजनीति हुँदा र पहुँचका आधारमा फैसला भएको चर्चा चल्दा पनि बारले आवाज नउठाएको उल्लेख गरे । अहिले भने लाल्टिन बोकेर आन्दोलनमा उत्रिनुलाई उनले ‘नाटक’को संज्ञा दिएका छन् ।

न्यौपानेले लेखेका छन्, ‘घर जलिसकेपछि धुवाँ देखेर बाल्टिन बोकी हिरो बन्न निस्किएको जस्तो शैली अहिले देखिएको छ ।’

उनले न्यायका नाममा राजनीति नगर्न आग्रह गर्दै लाल्टिन बाल्नै परे गरिबले न्याय नपाएको मुद्दामा, ढिलो न्यायका कारण जीवन प्रभावित भएका घटनामा र गलत फैसला भएर परिवार उजाडिएका ठाउँमा बाल्न चुनौती दिएका छन् ।

उनको भनाइमा न्यायपालिकाको सुधारका लागि संस्थागत पुनर्संरचना, छिटो र सुलभ न्याय तथा जिम्मेवार प्रणाली आवश्यक छ ।

न्यौपानेले न्यायपालिकाको स्वतन्त्रता र विश्वसनीयता जोगाउन वास्तविक सुधारको बहस आवश्यक रहेको पनि बताएका छन् ।

उनको पोस्ट जस्ताको त्यस्तै
के रे के रे ,लाल्टिन बाल्ने रे! अब हाँसौं कि रोऔं?
नवोदित कानुन व्यवसायीका पीडा देख्दा आँखा चिम्लिने बार, गरिब असहायले न्याय नपाउँदा कानमा तेल हालेर बस्ने बार, न्याय सम्पादनमा विचलन आउँदा मौन व्रत बस्ने बार, विवादास्पद फैसला आउँदा जिब्रो टोक्ने बार, भ्रष्टाचारका मुद्दा तामेलीमा जाँदा निद्रामा पर्ने बार, राजनीतिक कोटामा न्यायाधीश भर्ती हुँदा “सबै ठीक छ” भन्ने बार, कर्मचारीले राजनीति गर्दा चुप लाग्ने बार, भनसुन र पहुँचका भरमा फैसला भएको गाइँगुइँ चल्दा घाँटी सफा नगर्ने बार, गरिब वकिलको स्वास्थ्य बीमाको कुरा उठ्दा बाटो बदल्ने बार , आज अचानक लाल्टिन बोकेर न्याय बचाउन निस्कने रे!
अचम्म छ। समाजमा आगो लाग्दा इनार खोज्न ननिस्किने, घर जलिसकेपछि धुवाँ देखेर बाल्टिन बोकेर हिरो बन्न निस्किने शैली पनि कस्तो शैली हो!सामाजिक अभियन्ता बन्ने दाबी गर्ने, तर समाजका घाउमा कहिल्यै मल्हम नलगाउने। न्यायको पहरेदार भन्ने, तर अन्यायको चिच्याहट सुन्नेबित्तिकै मोबाइल साइलेंटमा राख्ने। अनि आज एकाएक लाल्टिन बोक्दै क्रान्तिको अभिनय!
लाल्टिन बाल्नै मन छ भने गरिबले न्याय नपाएको मुद्दामा बाल्नुस्।
ढिलो न्याय भएर मानिसको जीवन सकिएको ठाउँमा बाल्नुस्।
गलत फैसला भएर परिवार उजाडिएको ठाउँमा बाल्नुस्।
गलत निर्णय गर्नेको जिम्मेवारी नतोकिएको ठाउँमा बाल्नुस्।
न्याय खोज्दा नागरिकका जुत्ता च्यातिने अनि पहुँचवालाको फाइल लिफ्ट चढेर माथि पुग्ने प्रणालीमा बाल्नुस्।
नत्र भोलिदेखि जनताहरूले यसो नभनुन्
“यो न्यायको लाल्टिन होइन, अवसरको टर्च रहेछ। जति राजनीतिक हावा चल्यो, त्यतैको ब्याट्री हालेर बल्ने!”
न्यायपालिकालाई सुधार गर्नुपर्छ भने पुनर्संरचनाको कुरा गरौं, संस्थागत परिवर्तनको कुरा गरौं, नागरिकले छिटो र सुलभ न्याय पाउने व्यवस्था खोजौं। तर लाल्टिनलाई पनि राजनीति गर्ने औजार नबनाऔं। कम्तिमा आजको प्रतिनिधि सभामा न्यायालयको माया गर्ने स्वतन्त्र न्यायपालिका स्थापित गर्ने इच्छाशक्ति राख्ने र न्यायपालिकाको शिर उचो राख्नका लागि खबरदारी गर्ने कानुन व्यवसायीहरु छन् भन्ने कुरा नभुलौं।किनकि जनताले अब उज्यालो खोजेका छन्, उज्यालोको नाटक होइन। धन्यवाद जय देश जय न्यायालय।

किन पक्राउ परे दुर्गा प्रसाईं ?

काठमाडौँ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं सोमबार राति पर्साको वीरगञ्जबाट पक्राउ परे।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले प्रसाईंलाई वीरगञ्जस्थित दियालो होटलबाट नियन्त्रणमा लिएको हो। पक्राउका क्रममा प्रहरी र प्रसाईं पक्षबीच केहीबेर विवादसमेत भएको थियो। त्यतिबेला प्रहरीले पक्राउको कारणबारे स्पष्ट जानकारी दिएको थिएन।

हाल प्रसाईं प्रहरी हिरासतमै छन् भने प्रहरीका अनुसार उनीमाथि पछिल्ला केही दिनमा दिएका अभिव्यक्ति लगायतका विषयमा अनुसन्धान भइरहेको छ।

यद्यपि स्रोतका अनुसार प्रसाईं निकट समूहले मंगलबार बुटवलमा सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको थियो। सुकुम्बासी समस्या, महँगी लगायतका विषय उठाएर प्रदर्शनको तयारी गरिएको प्रसाईं निकट एक व्यक्तिले बताएका छन्।

प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए। मंगलबार वीरगञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेको बताइएको छ।

योसँगै प्रसाईं सातौँ पटक पक्राउ परेका हुन्। यसअघि उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला तीन पटक पक्राउ परेका थिए। साथै, निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्की को कार्यकालमा पनि उनी तीन पटक पक्राउ परेका थिए।

आज पनि संसदमा पर्चा देखाउँदै हर्क साम्पाङको विरोध

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार पनि विरोध जनाएका छन् ।

संसद बैठक सुरु हुनासाथ उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई संसद्प्रति जवाफदेही बनाउनुपर्ने माग गर्दै उठेर विरोध गरेका हुन् ।

साम्पाङ संसद्मा प्लेकार्डसहित उभिएका थिए । उनले सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने माग दोहोर्‍याएका थिए ।

त्यसपछि सभामुख डोलप्रसाद ‘डीपी’ अर्यालले साम्पाङले उठाएको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद् सचिवालयसँग छलफल गर्ने बताएका थिए । सभामुखको उक्त भनाइपछि बैठकको कार्यसूची अघि बढाइएको थियो ।
तस्वीरहरू:

बनेपाको सुकुम्बासी होल्डिङ सेन्टर : कस्तो छ अवस्था ? [तस्वीरहरू]

काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि हजारौँ मानिस घरविहीन बनेका छन्। केही परिवार आफैँ अन्यत्र सरिसकेका छन् भने धेरैजसोलाई सरकारले विभिन्न होल्डिङ सेन्टरमा राखेको छ।

यस्तैमध्ये बनेपास्थित नेपाल रेडक्रसको प्रशिक्षण केन्द्रमा वैशाख २४ गते ११० जनालाई स्थानान्तरण गरिएको थियो।

होल्डिङ सेन्टरमा बसिरहेका अधिकांशको साझा माग एउटै छ,स्थायी बसोबास, रोजगारी र बालबालिकाको पढाइको सुनिश्चितता। उनीहरूका अनुसार अहिले खान र बस्नको समस्या तत्कालका लागि समाधान भए पनि भविष्य अन्योलमै छ।

शान्तिनगर बस्तीबाट ल्याइएका दिलबहादुर सुब्बा र कृष्णकुमारी सुब्बिनीले सरकारले पर्याप्त समय नदिई घर भत्काएको गुनासो गरे। उनीहरूका अनुसार सामानसमेत सुरक्षित रूपमा निकाल्न नपाउँदै डोजर चलाइएको थियो। अहिले उनीहरूको मुख्य माग छिटो पुनर्वासको व्यवस्था गर्नु रहेको छ।

दैनिक ज्यालादारी गरेर परिवार चलाउँदै आएका लालबहादुर लिम्बुले सरकारले वास्तविक गरिब र भूमिहीनको पहिचान गरेर उचित व्यवस्थापन गर्नुपर्ने बताए। उनकी १० वर्षीया छोरी मानसिक तथा शारीरिक रूपमा कमजोर रहेकाले उपचारमा पनि सरकारी सहयोगको अपेक्षा रहेको उनले सुनाए।

६६ वर्षीय तोयनाथ मिश्र बालाजु बस्तीबाट बनेपाको होल्डिङ सेन्टरमा पुगेका हुन्। पिसाबसम्बन्धी समस्या भएका उनी अहिले पिसाबको थैली बोकेर बस्न बाध्य छन्। कठिन अवस्था भए पनि सरकारले अन्ततः उचित व्यवस्था गर्ने आशा भने उनले छोडेका छैनन्।

होल्डिङ सेन्टरमा रहेका बालबालिकाको चिन्ता पनि विद्यालय शिक्षामै केन्द्रित छ। अभिभावकहरूका अनुसार बच्चाहरूको पढाइ रोकिए भविष्य थप अन्योलमा पर्न सक्छ।

नेपाल रेडक्रस जनशक्ति विकास प्रतिष्ठानकी विभागीय प्रमुख श्रद्धा श्रेष्ठका अनुसार सहरी विकास मन्त्रालयको समन्वयमा वैशाख २४ गतेदेखि १५४ जनासम्मका लागि आवास र खानाको व्यवस्था गर्न पत्राचार भएको थियो। सोही दिन साँझ तीन वटा गाडीमार्फत ११० जनालाई केन्द्रमा ल्याइएको उनले जानकारी दिइन्।

उनका अनुसार त्यहाँ विभिन्न उमेर समूहका मानिस छन्। नौ दिनकी सुत्केरीदेखि १८ वर्षमुनिका २६ जना बालबालिका, ज्येष्ठ नागरिक र विभिन्न स्वास्थ्य अवस्थाका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर व्यवस्थापन गरिएको छ।

श्रेष्ठका अनुसार केन्द्रको वास्तविक क्षमता ६० जनाको मात्रै भए पनि आकस्मिक अवस्थाका कारण दोब्बरभन्दा बढी मानिसलाई राख्नुपरेको छ।

बालबालिका, महिला र वृद्धवृद्धालाई सकेसम्म कोठामै राखिएको छ भने बाँकी पुरुषहरूलाई हलमा व्यवस्थापन गरिएको छ। परिवार छुट्टिन नपरोस् भनेर सकेसम्म एउटै ठाउँमा राख्ने प्रयास गरिएको उनले बताइन्।

टकराव : व्यवस्थापिका-कार्यपालिका एकातिर, न्यायपालिका अर्कातिर

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको विषयले अहिले नेपालको राज्य संरचनामै टकरावको अवस्था सिर्जना गरेको छ ।

कार्यपालिका र व्यवस्थापिका एकातिर उभिएको देखिँदा न्यायपालिका अर्कातिर उभिएको छ । संवैधानिक परिषद्को निर्णय, सर्वोच्च अदालतमा दायर रिट, अदालत प्रशासनको भूमिका र संसदमा भएको राजनीतिक प्रतिक्रियाले शक्ति पृथकीकरणको सिद्धान्तमै गम्भीर बहस सुरु गराएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले अघिल्लो महिना चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि विवादको सुरुवात भएको थियो ।

न्यायालयभित्र स्थापित वरिष्ठता परम्परा मिचिएको भन्दै कानुन व्यवसायी र संवैधानिक क्षेत्रका जानकारहरूले प्रश्न उठाए । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने प्रयास भयो । तर, रिट दर्तामै रोक लगाइएको घटनाले विवादलाई झन् गहिरो बनायो ।

विवादको केन्द्रमा अहिले सर्वोच्च अदालत प्रशासनको भूमिका छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले संवैधानिक परिषद्को सिफारिस र त्यससम्बन्धी अध्यादेशविरुद्ध रिट दायर गर्न खोजेका थिए ।

तर, सर्वोच्च अदालत प्रशासनले केही निवेदन दरपीठ गर्‍यो भने केहीलाई दर्ता नै गर्न मानेन । अझ दरपीठविरुद्धको निवेदनसमेत दर्ता नगरिएपछि न्यायिक प्रक्रिया नै अवरुद्ध गरिएको आरोप उठ्न थाल्यो ।

यही पृष्ठभूमिमा सोमबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल स्वयंले हस्तक्षेप गर्दै रिट दर्ता गर्न लिखित आदेश दिइन् । उनले कानुनअनुसार दर्ता हुन आएका निवेदन रोक्नु न्यायप्राप्तिको अधिकारमाथिको अवरोध भएको ठहर गरिन् ।

उनको आदेशमा मुख्य रजिष्ट्रारले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माकै निर्देशनमा रिट दर्ता नगरिएको जानकारी दिएको उल्लेख भएपछि विवादले नयाँ मोड लियो ।

न्यायिक वृत्तमा प्रस्तावित प्रधानन्यायाधीश शर्मा पक्षलाई रिट दर्ता भएर अन्तरिम आदेश जारी भए नियुक्ति प्रक्रिया रोकिन सक्ने चिन्ता रहेको बताइन्छ । विशेषगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको वैधानिकतामै प्रश्न उठे त्यसले परिषद्को बैठक र निर्णयलाई समेत असर पार्न सक्ने आकलन गरिएको छ ।

यही कारण अदालत प्रशासन र प्रस्तावित प्रधानन्यायाधीश पक्ष रिट दर्ताप्रति अनिच्छुक देखिएको आरोप कामु प्रधानन्यायाधीश पक्ष र कानुन व्यवसायीहरूले लगाएका छन् ।

संवैधानिक कानुनका जानकार टीकाराम भट्टराईका अनुसार यो विवाद प्रधानन्यायाधीश नियुक्तिको विषय मात्र होइन, न्यायपालिका र कार्यपालिकाबीचको शक्ति संघर्षको प्रत्यक्ष अभिव्यक्ति हो ।

उनका अनुसार नेपालको संविधानले शक्ति पृथकीकरणलाई लोकतान्त्रिक शासनको आधारस्तम्भ मानेको छ । तर, पछिल्लो घटनाक्रमले कार्यपालिका न्यायपालिकाको आन्तरिक संरचनामै प्रभाव विस्तार गर्न खोजिरहेको सन्देश दिएको देखिन्छ ।

यसबीच कार्यपालिका र न्यायपालिकाबीचको तनाव व्यवस्थापिकामा पनि प्रवेश गरेको छ । सोमबार संसदमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपाने र समीक्ष बास्कोटाले कामु प्रधानन्यायाधीश मल्लको आदेशमाथि सार्वजनिक रूपमा आपत्ति जनाए । न्यौपानेले मल्लको सक्रियतामाथि प्रश्न उठाए भने बास्कोटाले ‘कालो कोट फुकालेर राजनीतिमा आउन’ चुनौती दिइन् ।

यसप्रति नेकपा एमाले का प्रमुख सचेतक ऐन महरले गम्भीर आपत्ति जनाए । उनले स्वतन्त्र न्यायपालिकाले सम्पादन गरिरहेको प्रक्रियामाथि संसदबाट हस्तक्षेप भएको टिप्पणी गरे ।

महरले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुने गरी न्यायिक विषयमा प्रत्यक्ष राजनीतिक टिप्पणी गर्नु अनुपयुक्त भएको धारणा राखे ।

घटनापछि नेपाल बार एसोसिएसन पनि आक्रामक रूपमा प्रस्तुत भएको छ । बारले रास्वपा सांसद न्यौपाने र बास्कोटाको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेको छ । महासचिव केदार कोइरालाले जारी गरेको विज्ञप्तिमा संविधानको धारा १०५ ले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न बन्देज गरेको स्मरण गराउँदै त्यसको उल्लंघन भएको उल्लेख गरिएको छ ।

बारले आवेश र दम्भमा आधारित अभिव्यक्तिले संवैधानिक मर्यादा कमजोर बनाउने चेतावनी दिएको छ । साथै यस्ता अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन र भविष्यमा पुनः नदोहोरिने सुनिश्चितता गर्न सभामुखसँग माग गरेको छ ।

कानुन व्यवसायीहरूको बुझाइमा सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्को निर्णय प्रक्रिया परिवर्तन गर्नु र त्यसपछि कनिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नु सामान्य संयोग होइन । उनीहरू यसलाई न्यायालयको नेतृत्व आफूअनुकूल बनाउने राजनीतिक रणनीतिको रूपमा व्याख्या गरिरहेका छन् ।

सर्वोच्च अदालतभित्रको प्रशासनिक अवस्था पनि असामान्य बनेको छ । मुख्य रजिष्ट्रारदेखि रिट शाखाका कर्मचारीसम्म आदेशपछि कार्यकक्षमा अनुपस्थित भएको विवरण बाहिरिएको छ ।

आफ्नै प्रशासनलाई काममा फर्काउन सर्वोच्च अदालत नेतृत्वले लिखित आदेश दिनुपरेको अवस्था न्यायिक इतिहासमै दुर्लभ मानिएको छ ।

राजनीतिक वृत्तमा विपक्षी दलहरूले सरकारले संवैधानिक निकायहरूमा नियन्त्रण बढाउने रणनीतिअन्तर्गत न्यायपालिकामा हस्तक्षेप गर्न खोजेको आरोप लगाइरहेका छन् । सत्ता पक्ष भने संवैधानिक परिषद्को निर्णय पूर्ण रूपमा कानुनी र संवैधानिक भएको दाबी गर्दै आएको छ ।

अब सबैको नजर सर्वोच्च अदालततर्फ केन्द्रित छ । यदि रिट दर्ता भएर सुनुवाइ अघि बढ्छ भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेशदेखि प्रधानन्यायाधीश सिफारिससम्मका निर्णय न्यायिक परीक्षणमा जानेछन् ।

तर, यदि रिट दर्ता रोक्ने प्रयास जारी रह्यो भने न्यायपालिकाको स्वतन्त्रता, विश्वसनीयता र संविधानले परिकल्पना गरेको शक्ति सन्तुलनमाथि अझ गम्भीर प्रश्न उठ्न सक्ने देखिएको छ ।

सभामुखलाई गोकुलको कटाक्ष : कालो ड्रेसवालाभन्दा पनि कडा हर्कको फेला परेछौ

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधि सभामा सोमबारको भएको विरोध प्रदर्शनलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्।

सभामुख डोलप्रसाद अर्यालले आफ्नै अगाडि प्लेकार्डसहित प्रदर्शन गरेपछि श्रम संस्कृति पार्टीका हर्क साम्पाङ लगायत सांसदहरूलाई रुलिङ गरेको प्रसंगमा बास्कोटाले सामाजिक सञ्जालमार्फत पुरानो संसद् घटनाको स्मरण गरेका हुन् ।

अघिल्लो प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सभामुखकै अगाडि कपी झिकेर पाठ पढ्दै सदन अवरोध गरेको प्रसंग जोड्दै उनले लेखेका छन्, ‘झल्झली आँखामा विगतको यादले नोष्टाल्जिक भएँ । मैले घाँटी कसिने गरी नीलो स्कार्फ नबेर अनि कपी झिकेर सभामुखको अगाडि पाठ नपढ न नजिर बस्छ भन्दा उ बेला मानेनौँ ।’

बास्कोटाले त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहलाई संकेत गर्दै थप टिप्पणी गरेका छन्, ‘अहिले कालो ड्रेसवाला भन्दा पनि कडा हर्कको फेला परेछौँ।’

उनको टिप्पणीलाई संसदभित्र देखिएको पछिल्लो विरोध शैली र अघिल्लो संसदमा रास्वपाले अपनाएको शैलीबीच तुलना गरिएको रूपमा हेरिएको छ ।

यसअघि अघिल्लो प्रतिनिधि सभामा रास्वपाका सांसदहरूले पार्टी सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेपछि संसदमा विरोध जनाउँदै कपी झिकेर सभामुखकै अगाडि पाठ पढ्ने शैली अपनाएका थिए । त्यतिबेला उक्त गतिविधिलाई संसदीय मर्यादाविपरीत भएको भन्दै आलोचना गरिएको थियो ।

सोमबार भने श्रम संस्कृति पार्टीका सांसदहरूले सभामुखकै अगाडि प्लेकार्डसहित मौन प्रदर्शन गरेका थिए । त्यसलगत्तै सभामुख अर्यालले संसदीय मर्यादा र अनुशासन कायम गर्न निर्देशन दिँदै रुलिङ गरेका थिए ।

उनीहरूले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएको तथा संसद्को अवमूल्यन गरिएको भन्दै विरोध जनाएका थिए ।

‘परालको आगो’

(स्थान: चामेको घरको आँगन। छेउमा जूठेल्ना र अर्कोपट्टी भैंसीको गोठ छ। समय साँझ पख। चामे खेतमा काम गरेर लखतरान भई धुस्रे-फुस्रे भएर कोदालो भितामा सिउरिएपछि टोपीले निधारको पसीना पुछदै पिढ़ी टुसुक्क बसेर तमाखू बेह्रेर सल्काउंदै स्वास्नीलाई कराउँछ।)

चामे: गौंथली! ए गौंथली!(जवाब नआउंदा ढोकाबाट भित्र चियाउंदै) कहाँ मुंटी?ए गौंथली!

(एक छिनपछि हस्यांग र फ़स्यांग गर्दै पल्लो घरबाट गौंथली आएर गाग्रो टिपेर पंधेरोंतिर पानी भर्न गई। त्यो देखेर चामे अझै आगो भयो।)

चामे: (रीसले एक्लै फत्फताउन लाग्यो) राँड! यतिन्जेल भात पकाएको पनि छैन, कामबाट पोई भोकाएर आउंछ भन्ने त्यसलाई थाह छैन। दिनभरी तन्नेरीहरुसित मस्किएर अहिले ठिक्क पार्छे। पख तंलाई…..!

(एकछिनपछि गौंथली काखीमा गाग्रो च्यापेर पिढ़ीमा पुग्न के लागेकी थिई चामेले चुल्ठोमा समाएर आँगनतिर मुण्ट्याउंदै गाली गर्न लाग्यो।)

चामे: राँड! दिनभरी जन्तीसंग आँखा झिम्क्याएर बसी अहिले स्वाँग पार्छेस…..।

(गौंथली ढुन्मुनिनदै आँगनमा लड़ी। आफ्नो कसूर भएकीले पहिले त केही भनिन। चोईटिएको खपटा बटुल्न खोजदै थिई चामेले फेरी एक लात कस्यो।)

गौंथली : (कर्कला स्वरमा चिच्याई) आइय्या…. मार्यो नी…! बज्जियाको कोड़ सल्केको हात।

चामे: (अझै जाक्किएर) मुख चलाउंछेस! जा! कहाँ जाञ्छेस जा। एकछिन नबस मेरो घरमा।

गौंथली : (अझै जोडले चिच्च्याउंदै) तेरो घरमा बस्दिन। बाबु आमा राँड़ारांडीका आँखा फुटेर कसाईको हात सुम्पे, यस्ता कंगाली मोराको पोई भएर बस्नुभन्दा डुबेर मर्नु जाती….।

चामे: राँडले आफ्नो बाबु त खुब ढनाढ्य छ भन्ठानेकी होली। गाउँलेको हलो नजोती साँझ विहान खान पुगदैन, माइतीको धाक लाउंछे।

चामे: (चामे र गौंथलीको झगड़ा सुनेर रमिता हेर्न आएको केटाकेटीहरुतिर झम्टिनदै)मोरा हो यहाँ के को रमिता छ र हेर्न आएको? तिमेर को घरमा काम छैन?(केटाकेटीहरु चामेलाई जिस्क्याऊदै भाग्छ)

(झमक्क पर्न लागेकोछ। गौंथली एकपट्टी सुंकसुकाऊँदै छे, अर्कोपट्टी चामे मुड्किको सिरानी लाएर दुवै भोकै सुते।)

… … …

(भोलीपल्ट बिहानै कामतिर गएको चामे साँझमा भोकले लखतरान भएर आईपुग्यो। हलो कोदालो भीतामा सिउरिएर यता उता हेर्यो तर गौंथली कतै देखेन। मास्तिरबाट जूठे दमाइकी स्वास्नी पानी भर्न जाँदै थियो, चामेले सोध्यों)

चामे: (अन्कनिंदै) भाउज्यू! गौंथलीलाई देखेन?

जुठेकी स्वास्नी: (ओंठ लेब्र्याऊँदै) कुट्न थालेपछि आँखा नदेखी कुटछौ। आइमाइ मान्छे भन्दैमा त्यसरी पशुलाई जस्तो कुटेपछि माइत नगएर कहाँ जाओस त?

(जुठे दमईकी स्वास्नी पंधेरोंतिर लागी। चामेलाई देखेर भोकाएकी भैंसीले वाँइ गरे। भैंसीलाई घाँस हालेर पाडो छोड़ेपछि गबुवा लिएर दूध दुहुन बस्यों।)

चामे: (च्व… च्व… गर्दै) आ राम्री! तेरी मालिक्नीलाई त भोकै राखेर माइत जाकिन पर्यो। के गर्छेस बा?(भन्दै एक दुई सर्को दुहेको थियो, भैंसीले उफ़्रिएर एकलात हान्यों। चामे गोबरमा जोतिन पुग्यो। दिनभरि भोकै खेतमा काम गरेर आएको चामे रीसले आगो भए। छेउमा सिउरिएको लौरो टिपेर भैंसी कुट्न थाल्यो। भैंसीले दाम्लो छिनाएर कोकलेको मकैबारी सोतर पार्यो। पल्लो घरमा मारूनी नाचदै गरेको कोकलेलाई देखेर भैंसी अझै तर्सिएर ठाड़ों पुच्छर लाएर वल्लो छेऊ र पल्लो छेऊ कुद्यो। वर्षदिन खाने अन्न भैंसीले सोतर पारेको देखेर कोकलेले चामेलाई एक झापट कस्यो। माथिबाट कोकलेकी आमाले सरापदै थिइन)

कोकलेकी आमा: चामे मोराको बांझो होस। मोरालाई छेरौटीले लान नसकेको, हिजो स्वास्नी कुटयो आज भैंसी कुटेर अर्काकों वर्षदिन खाने कमाई बिगार्यो, कसैको नभाको रीस। बजियाले बहादुरी देखाएको होला। पोहोर धनवीरेले लातीले खाँदेर वर्षदिन थला परेको बिर्स्यो क्यारे! बलियो छु भन्दो हो। परचक्रीलाई कुटन सक्ने पो सक्ने, आफ्नो स्वास्नी र कीलामा बाँधेको भैंसीलाई कुटने के कुटने? साँझ पर्यो कि एउटा न एउटा बिठ्याई गरेर गाउँमा रडाँको मच्च्याउंछ।

(भोलीपल्ट चामे बिहानै पंधेरोंबाट गाग्रोमा पानी लिएर आएको देखेर जुठे दमईकी स्वास्नीले खिज्याइन)

जुठे दमईकी स्वास्नी: आइय्यु नी !लोग्ने मान्छेले पानी बोकेको कस्तो नस्वाएको।

चामे: (स्वास्नी प्रति रीस पोख्दै) के गर्नु भाउजू? राँडलाई माइततिर गाड़िहाले, आफूले नबोकेर कसले बोकिदिन्छ त?

जुठेकी स्वास्नी: (सम्झाऊँदै) कुट्न थालेपछि आँखा नदेख्ने, विचरी नभागेर के गरोस त?

चामे: आफ़्नु मुखले! छुरा जस्तो मुख छ, नकुटेर के गर्नु?

जुठेकी स्वास्नी: (जिस्क्याउंदै) मुखाले भएकी अलिकति त कुटेरै पनि हो व्यारे!

चामे: (ठुस्किन्दै) चुप लाग! पोर दशैमा जुठेदाईले एकचोटी तिमीलाई कसरी कुटेथे। खोई त एकवचन फर्कायौ?

जुठेकी स्वास्नी:(ओंठ लेब्र्याउंदै) अं…एकचोटी भन्छौ, अहिले पो भक्ति भैरहेछन, अघि अघि त नकुटेको दिनै हूँदैनथ्यो। बेलुकी भोटेगाउँदेखि जाँड खाएर आए अनि एउटा निहूँ झिकेर कुट्न थाले, झन चाडवाड़को दिनमा त के भन्नु… नखाएको दिनै हूँदैनथ्यो। दुई चार दिन झरी-बादल भो की आजकल पनि जीउ दुख्छ। तर आफूले त यो उमेर भो कहिल्यै मुख फर्काएको थाह छैन।

चामे: (गजक्क हूँदै) हो त नि, के कुटेर मुखाले भएकी भन्छ्यौ त? तिम्रा जस्तै सुबानी भए पूजा गरेर राख्ने थिएँ।

जुठेकी स्वास्नी: (ओंठ पल्टाउंदै) भो भो सर्काउनु पर्दैन। जे भए पनि स्वास्नी जैरीसंग टेक गरेर हुँदैन, कति दिन पानी पंधेरों गरेर बस्ने? भोलीनै खुरुक्कै लिन जाऊ।

चामे: (घमण्ड देखाऊँदै) भो ज्ञान जानेर आउंछे भने घर छदैछ, लिन त पोड़े भए जाऊंला।

(एकदिन बिहान चामे पींढ़ीमा बसेर तमाखू खाँदै थियो, मास्तिरबाट छोरों बोकेर जुठे र उसकी स्वास्नी पल्लो गाउँ लुगा सिउन जाँदै गर्दा चामेलाई देखेर खिज्याए)

जुठे: के मेलो छ कान्छा?

चामे: (पुर्पुरोमा हात राखेर) बसिबसाऊ छ दाई।

जुठे: (जिस्क्याउंदै) स्वास्नी माइत धपाइहालिस। अब एक्लै मौज गर बस।

(जुठे दमई गएपछि चामेले धेरैबेर पुर्पुरोमा हात राखेर सोंच्यों, जूठेकों लोग्ने स्वास्नीको खुबै पिर्ती थियो। दुवै लोग्नेस्वास्नी दु:ख-सुखको कुरा गर्दै माझीगाउँतिर लुगा सिउन जाँन्थे । साँझमा जुठे “विद्युतको सरि रूप लिई गगनमा उडनु भया झट तसै” भन्दै विराटपर्वको सिलोक हाल्थ्यो, स्वास्नी जूठों-भाँडो गर्दै सुन्थिई। जुठे बिरामी पर्दा गाउँतिर धामी-झांक्री खोज़्दै हिंडथी तर चामेकी स्वास्नीले यतिका दिन कहिले राम्रो मुखले बोलेको छैन। गौंथली माइत गएपछि भैंसीले लातीले हानेर गोबरमा पछारिएको, भैंसीले गर्दा कोकलेको कुटाई खानु परेको, आफैले जुठों चूल्हो नगरे भोकै बस्नु परेको, दिनभरी खेतमा काम गरेर घर आई आफै पानी पंधेरों गर्नु पर्दा यस्तो छुसी जीवन जिउनुभन्दा खरानी घसेर हिंडनु जाती भन्ने सोंच्यों तर खरानी घसेर पो के गर्नु? दशघरको कुकुर नभुकाए खान पाईंन्दैन त्यति मात्र कहाँ हो र आजकल फेटा गूँथेको हट्टाकट्टा साधु देख्यों भने कोदाली खन्नुको गाह्रोले जोगी भएको भन्छन। अब जे भए पनि घरको स्वास्नी स्वास्नीनै हो। स्वास्नी नभएको घर साह्रै शुन्य लाग्न थाल्यो। विचार गर्यो मुखालेनै भए पनि काममा साह्रै जाँगरिली थी। भैंसीलाई घाँस ल्याउंथी, साँझ बिहान एक गाँस पकाएर खान दिन्थी। आए आऊँली नआए नआउली, एकपल्ट लिन जानै पर्यो। मन्मनै विचार गर्यो अनि ससुराली जान तर्खर भयो। मैलों भए पनि पनेलाको दौरासुरुवाल लाएर कुच्चिएको कालो बिर्खे टोपी टकटकाउंदै गनगनाउन लाग्यो।)

चामे: (कुच्चिएको टोपी सोझ्याऊँदै) राँडको ढंग हेर, माल पाएर चाल पाए पो हून्छ। आफ्नो बाबु बराज्युले कैले बिर्खे टोपी लगाएको भए पो थाह पाऊँथी। बाबु खांडीको टोपी लाएर भांग्राको गादो पारेर हिंड़छ, छोरी किन गतिली हुन्थी?बाहुनले च्याउ खाए पो स्वाद थाह पाउथ्यों।(टोपी सोझ्याएर छड्के पारेर लगाएपछि दौरामाथि ईस्टकोट लाएर हिंड्यो। ससुरालीको घर मुन्तिर पुगेपछि एकैक्षण चौतारामा बिसाएर पसीना पुछ्यो, माथि वन-पाखामा घाँसको भारी विसाएर वनै रन्काई गौंथली गीत गाऊँदै थीई “उड़ी जाऊँ भने म पंछी होइन बस्न त मन छैन”

चामे: (गौंथलीको गीत सुनेर रन्किदै) घाँस खान नपाएर भैंसीको पेट गाइनेको सारङी जस्तो भैसक्यो, राँड यहाँ बसेर वन रन्काउछे।

(केही बेरपछि चामे उकालो लाग्छ। ससुरालीको आँगनमा पुग्दा चामेकों गोड़ा गह्रौ भएर आयो। सासु जुठ्यानमा ताप्के मस्काउन लाग्दै थिई, ससुरा पींढ़ीमा बसेर तमाखू खान लागेको थियो। टाढैबाट सासुलाई ढोग गर्यो, प्रत्युतरमा सासुले पनि जुठै हातले ढ़ोगिन। ससुराले चामेलाई देखेर ढोग्न निहुरिए, चामेले दुवै गोड़ा जोड़ीदिए। केही बेरपछि गौंथली पनि घाँसको भारी बोकेर आई। चामेलाई देखेर गौंथली खुशी भई। छिटको फरिया लाएकी, हातमा बाला,गलामा प्वांलोको माला, पुष्ट छाती, निधारमा पूर्णेको जून झैं सिन्दूरको ठूलो टीको लाएकी गौंथलीलाई देखेर चामे तृप्त भयो। त्यस रात चामेलाई पींढ़ीमै ओछ्यान लगाईदियो। रातभर उपियाँले टोकेर चामेलाई निन्द्रै परेन। ‘त्यसदिन विचरी गौंथलीलाई किन कुटें हुंला, एकछिन गाउंको बिहे हेर्न गएको स्वास्नीलाई कुटने यस्तो छुसीले के स्वास्नी सुमर्नु। अब घर गई भने कहिल्यै कुटने छैन, जुठे दमईको भन्दा बढ़ता कदर गरेर राखिन भने अनि भन्नु।’ त्यसले मन मनै सोंच्यों, त्यसदिन सम्झेर त्यसलाई पश्चाताप भयो। भोली पल्ट बिहान सासु जूठेल्नामा भाँड़ा माझ्दै थिइन। ससुरा पर्खालमा अड़ेसिएर तमाखू सल्काउन लागेको थियो। गौंथली जुठों-चुल्हों गर्दै थिई।

चामे: (अलि संकोच मान्दै ससुरोतिर फर्केर) खेती-कटाईको बेला छ,ससुरा! छोरी पठाई दिनु पर्यो।

ससुरा: (एकछिन तमाखूको नली गलामा अढ्याएर रीसाएको भान पार्दे) हुन त ज्वाइं, गरीब र सरीब भनेर अनेक थरीको नाउँ राख्यौ अरे। गरीब भए पनि आजसम्म कसैको घरमा पोल्टो थाप्न गएको छैन। पाऊ पूजेर दिएको तिमीलाई नै हो, आफ्नो स्वास्नी राजी गराउ लैजाऊ, कसैले छेकेको छैन।

गौंथली:(ससुरासित कुरा गरेको चियाईरहेकी गौंथली मनमनै खुशी भई तरै पनि चामेसित घुर्की देखाउन डोको-नाम्लो बोकेर चामेलाई लामो जिब्रो देखाई वनतिर जान खोज्छे)

चामे: (गौंथली हिंडन लागेको देखेर पाखुरामा च्याप्प समातदै) डोको नाम्लो भिरेर कता नि…? हिंड घर जाऊँ।

गौंथली : (घुर्की देखाउंदै) घर त मरे पनि जान्न।

चामे: (फकाउने निहूँ गर्दै) घर नगएर कहाँ जान्छेस त?

गौंथली: (आँखा तर्दे) एउटा जीउलाई के जहीं गए पनि त भो नी…. जोगिनी हुन्छु, जान्छु।

चामे: भैंसीलाई घाँस कसले काटी दिन्छ र जोगिनी हुन्छेस?

गौंथली : (ओंठ लेब्र्याउंदै) काट्नु क्या आफ्नो भैंसीलाई आफै घाँस।

चामे: (फकाउंदै) धेरै नबौला, खुरुक्क घर हिंड।

गौंथली : (पुलुक्क मायालु नजरले चामेलाई हेर्दै) घर गएर फेरी निहु झिकदै कुटदै गर्नलाई।

चामे : (कान समाएर) ई….! अब पोंडे भए केही गरूंला।

गौंथली: भो नापियो। (डोको नाम्लो थन्क्याउंदै घरभित्र पस्छे,सिंगार-पटार भएर निस्कन्छे। सासुले सानु पोका र एक ठेकी दही राखिदिई। गौंथलीले पोकों बोकेर अघि लागिई, पछिपछि दहीको ठेकी बोकेर चामे सासु-ससुरालाई ढोगेर बाटो लाग्यो।)

गौंथली: (जिस्क्याउने बहाना गर्दै) आजकल भैंसीको दूध कति छ नि…?

चामे: बिहान बेलुकी गरेर एकपाथी।

गौंथली : (ओंठ लेब्र्याउंदै) इस्स…..! नभाको कुरा…..!

चामे: (भैंसीले लातीले हानेर चित परेको सम्झीन्दै) अनि तेरो भैंसीलाई पुल्पुल्याएर दिए पो। त्यसले अस्ति एक लात हानेर गोबरमा उतानों परें। एक लौरों हिर्काएको के थिएँ दामलों छिनाएर कोकलेको मकैबारी सोतर,व्यर्थै कोकलेको कुटाई खान पर्यो।

(चामेकों कुरा सुनेर गौंथली मुर्छा परीइ। झमक्क पर्न लाग्दा पंधेरोंनेर आईपुगेको थियो। मास्तिरबाट जुठेकी स्वास्नीले चामे र गौंथली जिस्किन्दै आएको देखेर गिज्याइन)

जूठेकी स्वास्नी : ओहो!….. चखेवा र चखेवी। अघि अघि दुलही पछि पछि दुलहा कति राम्रो सुहाएको।

गौंथली : (मुसुक्क हांस्दै) भो भो, नहाँस दिदी, फेरी कुन दिन कटाक्षे पर्ने हो।

जूठेकी स्वास्नी : (दुवैलाई पालै-पालो हेर्दै) उस…! चाटाचाट गर्नु पनि त बेर लाग्दो रहेनछ नि….,लोग्ने स्वास्नीको झगड़ा परालको आगो।

[स्रोत : गुरु प्रसाद मैनालीकाे “नासाे” कथा संग्रहबाट साभार ]

दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई सोबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले बताए ।

पृथ्वी वरिपरि लाखौँ उपग्रह : वैज्ञानिकहरू चिन्तित

काठमाडौं। अन्तरिक्ष उद्योगका विज्ञहरूका अनुसार भविष्यमा पृथ्वीको वरिपरि सयौँ हजारदेखि लाखौँसम्म उपग्रहहरू परिक्रमा गर्ने सम्भावना छ।

यो योजनाअनुसार यी उपग्रहहरूले इन्टरनेट सेवा नपुगेका क्षेत्रहरूमा कनेक्टिभिटी उपलब्ध गराउने, कक्षीय कम्प्युटिङ केन्द्रहरूमा डाटा प्रशोधन गर्ने, सौर्य ऊर्जा उत्पादन गर्ने लगायतका काम गर्नेछन्।

तर यो अत्यन्त महत्वाकांक्षी योजनाले वातावरणीय वैज्ञानिकहरूलाई चिन्तित बनाएको छ। अध्ययनहरूले सन् २०२० मा उपग्रहहरूको ठूलो समूह निर्माण हुने युग सुरु भएदेखि उपग्रह प्रक्षेपण र पुनःप्रवेशबाट उत्पन्न हुन सक्ने उच्च वायुमण्डलीय प्रदूषण उल्लेखनीय रूपमा बढेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार सावधानीपूर्वक गरिएको अनुमानअनुसार सन् २०३० सम्म विश्वव्यापी अन्तरिक्ष क्षेत्रले वायुमण्डलमा त्यति नै जलवायु परिवर्तन गर्ने रसायन उत्सर्जन गर्न सक्छ।

लन्डन विश्वविद्यालय कलेजकी वातावरण रसायन तथा वायु गुणस्तर विशेषज्ञ प्रोफेसर एलोइज मारेजका अनुसार, यदि अन्तरिक्ष उद्योगको विस्तार यस्तै गतिमा जारी रह्यो भने माथिल्लो वायुमण्डलमा केन्द्रित यो प्रदूषणले भविष्यमा पृथ्वीको जलवायु प्रणाली नै परिवर्तन गर्न सक्ने सम्भावना छ। 

उनले यसलाई ‘छोटो स्तरको, नियमनविहीन भू-इन्जिनियरिङ प्रयोग’ जस्तै भएको बताएकी छन्। जसका परिणाम गम्भीर र अप्रत्याशित हुन सक्छन्। भू-इन्जिनियरिङ भन्नाले पृथ्वीको तापक्रम घटाउन वा जलवायु नियन्त्रण गर्न वातावरणमा जानाजानी परिवर्तन गर्ने सम्भावित प्रविधिहरूलाई जनाइन्छ। 

यसको एउटा चर्चित विधि भनेको स्ट्राटोस्फेरिक एरोसोल इन्जेक्सन हो। जसमा सूर्यको ताप कम गर्न वायुमण्डलको माथिल्लो तहमा प्रकाश परावर्तित गर्ने कणहरू छोडिन्छ। तर वैज्ञानिकहरूका अनुसार यसका परिणामहरू अनिश्चित हुन्छन्। वर्षा प्रणाली, खडेरी र मौसममा अप्रत्याशित परिवर्तन आउन सक्छ।

मारेज र उनको टोलीले उपग्रहसम्बन्धी प्रदूषणको प्रभाव अध्ययन गरिरहेका छन्। उनीहरूको पछिल्लो अनुसन्धान अनुसार सन् २०२९ सम्ममा ठूलो उपग्रह समूहका प्रक्षेपणबाट हुने प्रदूषणले अन्तरिक्ष उद्योगले उत्पन्न गर्ने कुल प्रदूषणको ४० प्रतिशतभन्दा बढी हिस्सा ओगट्न सक्छ।

यस्ता उपग्रह समूहहरू मुख्यतः दुर्गम क्षेत्रहरूमा इन्टरनेट सेवा पुर्‍याउन प्रयोग गरिन्छन्। यी प्रणालीहरूमा प्रयोग हुने उपग्रहहरूको आयु सामान्यतया करिब पाँच वर्ष मात्र हुन्छ। त्यसपछि तिनीहरू प्रतिस्थापन गरिन्छन्।  यसले बारम्बार प्रक्षेपण र पुनःप्रवेश आवश्यक बनाउँछ। जसले वायुमण्डलको माथिल्लो तहमा प्रदूषण बढाउँछ।

प्रक्षेपणका क्रममा प्रयोग हुने इन्धनले कालो कार्बन उत्पादन गर्छ। जुन माथिल्लो वायुमण्डलमा वर्षौँसम्म रहन सक्छ। वैज्ञानिकहरूको भनाइ अनुसार यस्तो कार्बनले सतहमा उत्पन्न हुने प्रदूषणभन्दा धेरै गुणा बढी तापीय प्रभाव पार्छ।

त्यस्तै,उपग्रहहरू पुनःवायुमण्डलमा प्रवेश गर्दा एल्युमिनियम अक्साइड जस्ता कणहरू उत्पन्न हुन्छन्।  जसले ओजोन तहलाई क्षति पुर्‍याउन सक्छ। अनुसन्धानकर्ताहरूले कम्प्युटर मोडेल प्रयोग गरी यी प्रदूषकहरूले पृथ्वीको जलवायु र ओजोन प्रणालीमा पार्ने सम्भावित असरको मूल्यांकन गरिरहेका छन्।

मारेजका अनुसार मोडेलहरूले स्पष्ट रूपमा देखाउँछन् कि प्रदूषणले ओजोन क्षय र जलवायु परिवर्तनमा कस्तो प्रभाव पार्न सक्छ। तर उनले यो पनि बताएकी छन् कि अहिलेका अनुमानहरू सावधानीपूर्वक न्यून छन्। किनकि वास्तविक उपग्रह वृद्धि अपेक्षाभन्दा छिटो भइरहेको छ।

हाल पृथ्वीको वरिपरि करिब १५ हजारभन्दा बढी सक्रिय उपग्रहहरू परिक्रमा गरिरहेका छन्, जुन सन् २०२० को तुलनामा करिब तीन गुणा बढी हो। यसको प्रमुख कारण एउटा ठूलो उपग्रह नेटवर्क हो।  जसमा मात्र १० हजारभन्दा बढी उपग्रह छन्।

अब अमेजनको अर्को उपग्रह प्रणाली र चीनका विभिन्न उपग्रह परियोजनाहरू पनि तीव्र रूपमा विस्तार भइरहेका छन्। अनुमान अनुसार सन् २०३० सम्म उपग्रहहरूको संख्या १ लाखसम्म पुग्न सक्छ। र भविष्यमा अझ तीव्र वृद्धि हुने सम्भावना छ।

वैज्ञानिकहरूका अनुसार यदि यो विस्तार नियमनविहीन रूपमा जारी रह्यो भने माथिल्लो वायुमण्डलमा जम्मा हुने प्रदूषक कणहरूले दीर्घकालीन रूपमा पृथ्वीको जलवायु प्रणालीमा प्रभाव पार्न सक्छन्।

प्रविधिको विकासले पृथ्वीको वातावरणीय सन्तुलनलाई जोखिममा नपारोस् भनेर वैज्ञानिकहरू अन्तरिक्ष प्रक्षेपण र उपग्रह व्यवस्थापनमा कडा नियमन र थप अनुसन्धान आवश्यक रहेको बताउँछन्।