`

लेखक पनि छुटे

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि रिहा भएका छन्।  उनलाई जिल्ला अदालत काठमाडौँले हाजिरी जमानीमा रिहा गर्ने आदेश दिएको हो। 

लेखक १४ चैतमा भदौ २३ का घटनाहरुको अनुसन्धानका लागि भक्तपुरबाट पक्राउ परेका थिए। 

सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलबाट पत्र आएपछि उनीहरूलाई रिहा गरिएको हो।

योगेशको कटाक्ष : ‘बादल मडारियो,जबज निथ्रुक्कै भिज्यो,हामी हेरेको हेर्‍यै भयौं!’

काठमाडौं। नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले कास्कीमा आयोजित जिल्ला भेलामा दिएको अभिव्यक्तिपछि पार्टीभित्र बहस तीव्र बनेको छ।

पोखरामा आयोजित कार्यक्रममा बादलले आफूले संसदको पहिलो बैठकमा व्यक्त गरेको धारणा पार्टीभित्र र बाहिर रहेका दक्षिणपन्थी प्रवृत्तिलाई उजागर गरेको बताएका थिए। उनको उक्त भनाइपछि एमालेभित्र विभिन्न नेताहरूले पक्ष र विपक्षमा धारणा सार्वजनिक गर्न थालेका छन्।

यसैबीच, उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत कवितात्मक शैलीमा व्यंग्य गर्दै प्रतिक्रिया जनाएका छन्।

‘मुसलधारे वर्षा भयो, जबज निथ्रुक्कै भिज्यो, मदन तीन छक्क पर्नुभयो, हामी हेरेको हेर्‍यै भयौं! स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ,’ भन्दै उनले प्रतीकात्मक रूपमा कटाक्ष गरेका छन्।

बादलको अभिव्यक्तिलाई लिएर एमालेभित्र विचार विभाजन देखिएको छ भने अहिले योगेशको अभिव्यक्तिले पनि पार्टीभित्रको आन्तरिक बहसलाई अझ तीव्र बनाएको छ।
उनको कविता:

छोक ( छोटकरी कविता)
बादल मडारियो
मुसलधारे वर्षा भयो
जबज निथ्रुक्कै भिज्यो
मदन तीन छक्क पर्नुभयो
हामी हेरेको हेर्यै भयौ !
( स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ)

रिहा भए ओली

काठमाडौं ।  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रिहा भएका छन्। प्रहरीले उनलाई परिवारको जिम्मा लगाएर छाडेको हो ।

उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

ओली १४ चैतमा भक्तपुरबाट पक्राउ परेका थिए। 

ओली-लेखक जमानीमा रिहा हुँदै

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक हाजिरी जमानीमा रिहा हुने भएका छन्।

जिल्ला अदालत काठमाडौँले उनीहरूलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो। यसअघि अनुसन्धानका लागि अदालतले उनीहरूलाई तेस्रो पटक पाँच दिनको म्याद थपेको थियो। उक्त म्याद आज सकिँदैछ।

सर्वोच्च अदालतले अब म्याद नथप्नु भन्ने आदेश दिएपछि उनीहरू रिहा हुन लागेका हुन्।

ओली र लेखक गत भदौ २३ को घटनाको छानबिनका लागि १४ चैतमा पक्राउ परेका थिए।

 

ओलीलाई रिहा गर्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन्।

सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलको कार्यालयबाट जिम्मा जमानीमा छाड्ने कागजी प्रक्रिया पूरा भइसकेकाले प्रहरीले उनलाई रिहा गर्ने तयारी अघि बढाएको हो।

काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाका अनुसार ओलीलाई छाड्ने प्रक्रिया सुरु भइसकेको छ।

जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा उनलाई चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। स्वास्थ्य समस्या देखिएपछि उनी त्रिवि शिक्षण अस्पतालमा राखिएका थिए।

ओलीकी पत्नी राधिका र रमेश लेखककी पत्नी यशोदाले आफ्ना पतिहरूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए।

सर्वोच्च अदालतले चैत २३ मा अनुसन्धान चैत २६ भित्र टुंग्याउन आदेश दिएको थियो। तोकिएको समयभित्र अनुसन्धान पूरा नभएमा सर्तसहित रिहा गर्न पनि अदालतले निर्देशन दिएको थियो।

यद्यपि, अदालतले उनीहरूको हिरासतलाई गैरकानुनी ठहर गर्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्ने माग भने अस्वीकार गरेको थियो।

पाटनमा चक्कु प्रहारबाट दाजुभाइको मृत्यु

ललितपुर। ललितपुरको पाटन स्थित कृष्ण मन्दिर परिसरमा भएको चक्कु प्रहार घटनामा दाजुभाइको ज्यान गएको छ। प्रहरीका अनुसार सामान्य वादविवाद आपसी झगडामा परिणत भई चक्कु हानाहानसम्म पुगेपछि ३३ वर्षीय सुमीत नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङको मृत्यु भएको हो।

प्रहरी वृत्त मंगलबजारका एक अधिकारीले नाम नखुलाइ नेपालवन एचडीसँग बताए अनुसार, ‘सामान्य झगडाकै क्रममा चक्कु प्रहार भयो। ’ 

‘चक्कु प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइसकिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ’, उनले भने। 

प्रहरीका अनुसार दुवैजनामाथि चक्कु प्रहार गरेको आरोप सञ्जीव नेपाली नाम गरेका व्यक्तिमाथि लागेको छ। चक्कु प्रहारबाट गम्भीर घाइते भएका सुमीत र सिर्जन नेम्बाङलाई तत्कालै बी एन्ड बी अस्पताल लगिएको थियो। उपचारका क्रममा दुवैजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

यस घटनाले पाटन क्षेत्रको सुरक्षाब्यवस्थाप्रति स्थानीयहरूलाई चिन्तित बनाएको छ भने प्रहरीले घटनास्थल आसपास थप सुरक्षा निगरानी बढाएको जनाएको छ।

फोन गलत नम्बरमा गएको निहुँमा चक्कु प्रहार, दाजुभाई गम्भीर घाइते, आरोपी पक्राउ

काठमाडौं । गलत नम्बरमा फोन गएको निहुँपछि झगडा हुँदा दुई युवकमाथि चक्कु प्रहार भएको छ ।

यो घटना ललितपुरको पाटनस्थित कृष्णमन्दिर अगाडि बुधबार भएको हो । घटनाका मुख्य आरोपित सन्जीब नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

चक्कु प्रहार गरेर भाग्दै गरेका नेपालीलाई एक महिला प्रहरीले चक्कुसहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । नेपालीले झापाका २६ वर्षीय सिर्जन नेम्बाङ र सुमित नेम्बाङलाई चक्कु प्रहार गरेका प्रहरीले जनाएको छ ।

चक्कु प्रहारबाट घाइते भएका दुवैजनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार उनीहरूको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीले, ‘घटनालगत्तै पाएको सूचनाको आधारमा प्रहरीको टोली घटनास्थल पुगेर चारैतिर घेरा हालेर नियन्त्रणमा लियौँ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।’

घटनालगत्तै सातदोबाटो प्रहरी वृत्तका प्रमुख डीएसपी पूर्णिमा चन्द नेतृत्वको टोली र प्रहरी प्रभाग मंगलबजारको टोली घटनास्थल पुगेको थियो ।

घाइते नेम्बाङद्वय सहोदर दाजुभाइ हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा घाइते भएका नेम्बाङ दाजुभाइको फोन आरोपित सन्जीब नेपालीको नम्बरमा जाँदा सोही विषयमा विवाद भएको खुलेको छ ।

नेम्बाङ दाजुभाइ र अपरिचित नेपालीबीच फोनमै भनाभन भइ इमाडोल बस्ने नेम्बाङ दाजुभाइ नेपालीलाई भेट्न कृष्णमन्दिर पुगेका थिए ।

सन्जीब नेपाली र नेम्बाङ दाजुभाइसित भएको विवाद मिलाउन झापाकै विकास लिम्बु पनि कृष्ण मन्दिर पुगेका थिए । प्रहरीको अनुसन्धानको क्रममा विकास लिम्बुको भने नेम्बाङ दाजुभाइ र सन्जीब नेपालीसँग पनि चिनजान रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले विकास लिम्बुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

राजाको एजेन्डा छाड्दै लिङ्देन ! एजेण्डा परिवर्तनको बैठकबारे गौचन असन्तुष्ट

लिङ्देनलक्षित पाठकको टिप्पणी- नेतृत्व स्थापितपछि राजनीतिक बहस फिटिक्कै छैन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आन्तरिक असन्तुष्टि चुलिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति तीब्र आलोचना भइरहेको छ ।

पार्टीमा अराजकता र स्वेच्छाचारिता मौलाएको, वैचारिक बहस पटक्कै नभएको र पार्टीलाई अनुशासनमा सञ्चालन गर्न अध्यक्ष लिङ्देन अक्षम भएको भन्दै उनको नेतृत्वशैलीमाथि पनि प्रश्न उठेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यसम्पादन समिति सदस्य जनकराज पाठकले पार्टीमा वैचारिक बहस हराउँदै गएको, व्यक्तिवाद हाबी भएको र संगठनात्मक अनुशासन कमजोर बनेको भन्दै लिङ्देनको आलोचना गरे ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘पार्टी जीवनको इतिहासमै कार्यकर्तादेखि नेतृत्व तहसम्म यत्तिको राजनैतिक अराजकता मैले देखेको थिइनँ ।’

लिङ्देनको नाम नलिइकन उनले नयाँ नेतृत्व आएपछि पार्टीभित्र कुनै पनि गम्भीर बहस नभएको भन्दै उनले भनेका छन्, ‘आत्मा साक्षी राखेर भन्दा पार्टीमा नयाँ नेतृत्व स्थापित भएपछि आजका दिनसम्म कहीँ कतै कुनै सैद्धान्तिक वा राजनीतिक बहस फिटिक्कै छैन ।’

पाठकले लिङ्देनले पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । ‘आफू निकटलाई आममाफी, अन्यलाई ठाडै कारबाही । परम्परा र विधिको अन्त्य भएको छ,’ उनले असन्तुष्टि पोखे ।

उनले यस्तो प्रवृत्तिले संगठनभित्र विश्वास संकट पैदा गरेको बताएका छन् । अध्यक्ष लिङ्देननिकट कार्यकर्ताहरूलाई संकेत गर्दै उनले पार्टीमा अराजकता मौलाएको भन्दै गम्भीर चिन्ता प्रकट गरे ।

‘कसले छिटो बोल्ने अनि कसलाई नंगाउने यति छ दैनिकी,’ उनले भने । नक्कली नाम प्रयोग गरेर आक्रमण गर्ने प्रवृत्तिसमेत बढेको उनको दाबी छ ।

२१ फागुनमा भएको निर्वाचनमा अपेक्षित परिणाम नआएपछि पनि कुनै गम्भीर समीक्षा नभएको भन्दै अध्यक्ष लिङ्देनप्रति उनले प्रश्न उठाएका छन् ।

‘निर्वाचनमा अपेक्षित परिणाम आएन, किन आएन भन्ने बहस वा समीक्षा समेत हुँदैन,’ निर्वाचन भएको महिना दिन बित्दा पनि समीक्षा नभएपछि पाठकले गुनासो गरेका हुन् ।

उनले पार्टीभित्रको संकट समाधानका लागि ताजा जनादेश आवश्यक रहेको बताएका छन् ।

 

आफूविरुद्दका आरोप निराधार रहेको देउवाको दाबी

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफ्नाविरुद्ध संचारमाध्यममा फैलिएका सम्पत्ति शुद्धिकरणसम्बन्धी आरोपहरू ‘निराधार, भ्रामक र प्रचारवादी’ भएको बताएका छन्। बुधबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत जारी गरेको वक्तव्यमा उनले आफ्नो जीवन ‘खुला किताब’ भएको दाबी गर्दै पछिल्ला आरोपलाई ‘झुटा’ रहेको बताएका हुन् ।

‘म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ’, उनको स्टाटसमा उल्लेख छ, ‘म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु।’

देउवाले आफू र परिवारविरुद्ध सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको खबर संचारमाध्यमबाट मात्र थाहा पाएको उल्लेख गर्दै ती समाचारहरूले गलत धारणा फैलाउने प्रयास गरेको आरोप लगाए। उनका अनुसार सार्वजनिक पदमा रहेका बेला आफूले नेपालको कानुनअनुसार सम्पत्ति विवरण सम्बन्धित सरकारी निकायमा नियमित रूपमा पेस गरेका छन्।

नेपालमा सुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले आफूले सिंगो जीवन समर्पित गरेको उल्लेख गर्दै देउवाले गृहमन्त्री तथा प्रधानमन्त्रीका रूपमा रहँदा सुशासन सम्बन्धी कानुनी संरचना मजबूत गर्न भूमिका खेलेको दाबी गरे। उनले विशेष रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (२०४८) तथा भ्रष्टाचार निवारण ऐन (२०५९) कार्यान्वयनमा आफ्नो अगुवाइ भएको स्मरण गराए।

विदेशमा स्वास्थ्य उपचारका लागि बसेको बताउँदै देउवाले समयक्रमसँगै वास्तविकता प्रष्ट हुँदै जाने दाबी गरे। 

उनले सार्वजनिक भएका अतिरञ्जित विवरणबाट भ्रममा नपर्न सर्वसाधारणसँग आग्रह पनि गरेका छन्।

देउवाको स्टाटस:

सिंहदरबार प्रवेशमा कडाइपछि बार अध्यक्ष भन्छन्-थुनुवाको मौलिक हनन् हुन्छ (भिडियो वार्ता)

काठमाडौं । बालेन सरकारले सिंहदरबार प्रवेशमा कडाई गरेपछि नेपाल बार एसोसिएसनले गम्भीर आपत्ति जनाएको छ । बारले सरकारको उक्त कदमको प्रतिवाद गर्दै प्रशासकीय अदालतको अत्यावश्यकबाहेकका काम कारबाही ठप्प गराउने भएको छ ।

गृहमन्त्री कृष्णप्रसाद सिटौला भएको र सभामुख सुवासचन्द्र नेम्बाङ भएको बेलादेखि कानुन व्यवसायीहरुलाई सिंहदरबार प्रवेशमा सहजता दिलाएको थियो । तर, बालेन प्रधानमन्त्री भएको केही दिनमै कडाई गर्यो ।

यसै सन्दर्भमा बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रकाश मिश्रसँग नेपालवान एचडीका लागि गरिएको संवाद प्रस्तुत छ :-

सरकारले सिंहदरबार प्रवेशमा वकिलहरूलाई कडाई गर्‍यो । बार एसोसिएसनको प्रारम्भिक धारणा के हो ?

हामीले अस्तिदेखि व्यक्तिगत रूपमा गुनासोहरू प्राप्त गरिरहेका थियौँ। बारका पदाधिकारीहरू पनि आफ्नो परिचय नखुलाइ बार काउन्सिलले दिएको परिचय पत्र लिएर गए। उहाँहरूले अहिले पोलिसी चेन्ज भएको छ, कहाँ जाने भन्ने कुराहरू कानुन मन्त्रालय र गृह मन्त्रालयले भनेपछि पनि हामी पठाउँछौँ भन्नुभयो। त्यसपछि यो विषयको पदाधिकारी को हुनुहुन्छ भनेर सम्पर्क गर्यौँ। कानून मन्त्रालयको सचिव, गृह मन्त्रालयको सचिव, प्रवक्ता सबैसँग सम्पर्क गर्यौँ। महान्यायधिवक्तालाई पनि ध्यानाकर्षण गरायौँ। त्यसपछि प्रधानमन्त्रीज्यूलाई समस्या यसरी उत्पन्न भएको छ, हाम्रा आवतजावतमा अवरोध गरिएको छ।

प्रशासकीय अदालतमा मुद्दा बहस गर्न जानुपर्ने हुन्छ, कानून मन्त्रालयमा जानुपर्ने हुन्छ, अन्य सिंहदरबारस्थित विभिन्न निकायहरूमा प्रवेश गरिरहनुपर्ने हुन्छ। संसदमा नै बोलाउँछ कहिलेकाहीँ हामीलाई राय परामर्शको लागि। यो सिंहदरबारमा हामीले कानुन व्यवसायीहरूलाई दिवङ्गत सभामुख सुवास नेमाङको पहलमा तत्कालिन गृहमन्त्री  कृष्णप्रसाद सिटौलालाई भनेर उहाँले निर्बाध प्रवेश पाउने, कानुन व्यवसायीको परिचय पत्र देखाएर जान पाउने भन्ने व्यवस्था गरिदिनुभएको थियो।

त्यसमा अहिलेसम्म केही पनि समस्या आएन। समस्या आउने वाला पनि छैन। कसैले समस्या दिन खोजेमा सुरक्षाकर्मीहरूले सुरक्षा जाँचमा पत्ता लगाइहाल्नुहुन्छ । त्यसैले यो प्रवेश मार्ग अवरुद्ध गर्ने काम राम्रो भएन भनेर भनेका छौँ। आज (बुधबार) दिनभरिमा केही प्रगति नभएपछि अब भोलि (बिहीबार)देखि प्रशासकीय अदालतमा एकदमै जरुरी बाहेक अरु सबै काम बन्द गर्न हामीले अनुरोध गरेका छौँ।

सरकारले चाहिँ के कारणले गर्दा कानुन व्यवसायीहरूको सिंहदरबार प्रवेशमा कडाई गरेको भन्यो ?

हामी त सकारात्मक सोचका धनी हौँ। सरकारले ठ्याक्कै कानुन व्यवसायीहरूप्रति पूर्वाग्रह राखेर कानुन व्यवसायीलाई कमजोर पार्न अघि बढ्न खोजेको भन्ने अनुमान हाम्रो चित्तले अझै पनि ठहर्‍याउन सकेको छैन। तर, कहिलेकाहीँ हामी कानुन व्यवसायीहरूलाई सधैँ सत्ताले लक्ष्य बनाउँछ। कानुन व्यवसायीहरूले कानूनको शासनको कुराहरू, सरकारले गरेका कामकारबाहीहरूको विरुद्ध अदालतमा बहस गर्नुपर्ने हुन्छ। यो वर्ग भनेकै कानुनका त्रुटिहरू, कमीकमजोरीहरू देखाउँदै सरकारको काम कारबाही परीक्षणको लागि अदालतमा जाने, परीक्षित गराउने वर्ग भएको हो। अनि राज्यबाट मुद्दा चलाइएका व्यक्तिहरूको पक्षमा सधैँको लागि बहस गर्ने हाम्रो पेशागत धर्म, कर्म, कर्तव्य, शिक्षा, संस्कार सबै भएको हुनाले सरकारको रुचिभित्र हामी नपरेका हुन सक्छौँ।

प्रधानमन्त्री बालेन भएको बेला कानुन व्यवसायीहरूलाई सिंहदरबार प्रवेशमा कडाई गर्नुलाई तपाईँहरूले चाहिँ कसरी लिनुभएको छ ?

हामीले सहज रूपमा लिएका छैनौँ। यो हुनै नपर्ने घटना हो। सायद उहाँलाई थाहा छ कि छैन, उहाँको अङ्गहरूले गरेको हो कि, उहाँले केही सोच्नुभयो म भन्न सक्दिनँ। तर, धेरै अगाडिदेखि सबैले पश्चिमी गेटबाट निर्बाध प्रवेश पाउँथे। सिंहदरबारको चौरमा बस्ने अनि फर्केर आउने अवसर थियो। हामी पनि नेपाल राजपत्र सिंहदरबारमा गएर लिने र फर्किने गर्थ्यौँ।अनि पछि सुरक्षाकर्मीलाई कार्ड देखाएर जानुपर्ने भन्ने प्रद्धति आयो, त्यो पनि हामीले स्वीकार गर्यौँ। अब प्रवेश नै नगर्ने वा एपमार्फत परिचयपत्र लिएर प्रवेश गर्ने भनेपछि एपमा सर्भर डाउन हुने, एप प्राप्त नहुने, त्यतिञ्जेलको प्रोसेसमा ३-४ घण्टाअगाडि जसले परिचय पत्र पाउनु हुन्थ्यो, गेट पास पाउनु हुन्थ्यो। अहिले अदालत बन्द भइसकेपछि पनि प्रवेश पत्र पाएको छैन भन्ने आइरहेको छ।

हाम्रो प्रवेश, अदालतमा कोभिड लकडाउनको बेलामा पनि संकटको बेलामा पनि अरूलाई आवतजावत अवरुद्ध गरेको बेलामा पनि कानुन व्यवसायी, चिकित्सक, पत्रकार आदिको आवतजावत रोक्न मिल्दैन। त्यो रोक्न नमिल्ने कारण के छ भन्नुहुन्छ भने मान्छेको मौलिक हक, जो थुनामा परेको छ, उसको मौलिक हक परिपालनको लागि, कार्यान्वयन गर्न कानुन व्यवसायीको परामर्श लिन पाउने, दिन पाउने भन्ने संवैधानिक हकको व्यवस्था छ। त्यो हक एकछिन प्रयोग हुन सकेन भने उसको सम्पूर्ण भाग्य भविष्य नै फेरिन सक्छ। त्यसो नहुनको लागि असाध्यै राम्रो महत्त्वपूर्ण अधिकार, अभियुक्तले कानुनी परामर्श पाउने, अरुले बहस गराउन पाउने, आफ्नो तर्फको कुरा राख्न पाउने हक दिएको छ। यसलाई आउजाउमा अवरुद्ध गर्ने बित्तिकै त यो सुन्नेमा संविधानको व्यवस्था नै निष्क्रिय हुन जाने अवस्था भएको हुनाले जो गरिएको छ, प्रशासनिक लेबलबाट गरिएको छ कि उच्च तहबाट गरिएको छ कि जे गरे पनि अब यसलाई यहीँ टुङ्ग्याएर अघि बढ्नुपर्ने स्थिति हामी देख्छौं।

पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्की जो न्यायाधीश भएको बेला एउटा उच्चस्तरीय छानबिन प्रतिवेदन तयार गर्ने जिम्मा पाउनुभएको थियो र उहाँले प्रतिवेदनमा वकील पनि बिचौलियाको भूमिकामा देखिए भन्नुभएको थियो। त्यसो हुनाले बिचौलियाविरुद्ध अथवा तस्करहरुविरुद्ध, भ्रष्टाचारीहरुविरुद्ध निर्मम बनेको सरकारले वकीलहरु पनि बिचौलिया भए उनीहरुलाई कडाइ गर्नुपर्छ भन्ने ढङ्गले एक्सन लिएको जस्तो लाग्छ लाग्दैन ?

मलाई त्यस्तो लाग्दैन। वकिल बिचौलिया भएको अवस्थामा बार काउन्सिलले हेर्छ र यो परिप्रेक्ष्यमा सबै दूधले नुहाएको भन्ने हाम्रो भनाइ छैन । गलतलाई कारबाही गर्ने, असललाई पुरस्कृत गर्ने हाम्रो निकाय छ । त्यो निकायको काम कारबाही द्रुत गतिमा बढाउनुपर्ने आवश्यकता छ, जसले गल्ती गर्नुपर्छ । तर, आम कानुन व्यवसायी नै बिचौलिया हुन् भन्ने कुरामा हामी सहमत छैनौँ। सहमत हुन सक्दैनौँ। मुलुकको ८० प्रतिशत कानुन व्यवसायीहरु अर्ध बेरोजगार वा पूर्ण बेरोजगारको स्थितिमा रहेको अवस्था छ। सबैलाई काम दिन पनि सकिएको छैन। कानुनका कलेजहरुको संख्या वृद्धि भइरहेको छ। कुनै व्यक्ति बिचौलिया भयो भने त्यसलाई हामी सम्बद्धले मद्दत गरेर कारबाही गराउनुपर्ने हुन्छ।

तर, यसको अर्थ सबै कानुन व्यवसायीहरुले बहस गर्न जाने बाटो नै अवरुद्ध गर्ने भन्ने यसको समाधान होइन। बदलाब आफैं एउटा कुरा हो। स्टन्टबाजी कुरा हो। कानुन व्यवसायीहरुको प्रवेश नै अवरुद्ध गर्ने हो भने भोलि सरकारलाई नै अप्ठ्यारो परेको बेलामा कानुन व्यवसायीले सरकारको प्रतिरक्षा गर्नुपर्ने हुन्छ। सरकारी वकीलले अनि निजी क्षेत्रको वकीलले पनि सरकारको पक्षमा बोल्नुपर्ने हुन्छ। अब जानै नपाइसकेपछि के बोल्ने भन्ने कुरा हो। हामीले यो घटना जति गम्भीरतापूर्वक अघि बढ्न नपर्ने हो। यो क्रमशः बढिरहेको छ। एकदमै तरल अवस्था छ, तरल अवस्थामा यस प्रकारको घटनाक्रमहरु घटाएर अस्थिरता र एकदम नकारात्मकतातर्फ रमाउन चाहने वर्गलाई सरकारले मौका वा त्यसको अवसर दिन नहुने हो भन्ने कुरामा हामी स्पष्ट छौं।

कानुनमन्त्री सोविता गौतम कानुनकै अध्येता छिन् । यस्तो अवस्थामा वकिलहरुलाई सिंहदरबार प्रवेशमा रोक लगाइसकेपछि प्रतिवाद गर्दै अब भोलिदेखि भन्नुभयो कि प्रशासकीय अदालतको अत्यावश्यक बाहेकका काम कारबाही ठप्प पार्छौँ । अरु कदम के हुन सक्छन् सरकारले तपाईहरुको प्रवेशलाई खुला गरेन भने ?

यो प्रशासकीय अदालतको कामकारबाही जरुरी बाहेक अरु नगर्नु भनेर अनुरोध गरेका छौँ। अब अरु काम कारबाहीको स्वरुपहरु हामीले तय गर्न बाँकी छ। मलाई लाग्छ, यो अरु काम कारबाहीतर्फ जानुभन्दा अगाडि नै सरकारले ससम्मान यो विषयलाई समाधान गर्नेछ भन्ने कुरामा हामी शतप्रतिशत विश्वस्त छौँ। किनभने हामी प्रदर्शनमा निस्कियौँ भने अहिले प्रदर्शनमा निस्कने बित्तिकै अस्थिरतावादी तत्वहरुले त्यसमा घुसपैठ गरेर कुनै अनपेक्षित घटना घट्यो भने त्यो दुर्भाग्यपूर्ण हुने हुनाले समयको संवेदनशीलतालाई विचार गरेर हामीले कार्यक्रम गर्नुपर्ने हुन्छ। कार्यक्रम गर्नुभन्दा अगाडि नै सरकारले सबै कुरा नजानेर पनि केही काम कारबाही गरेको हुन सक्छ।

त्यो कुरालाई विचार गरेर सरकारको तहमा जुन गम्भीरता देखाउनुपर्ने हो, हामीले फेरि सरकारलाई यो पाँच वर्ष टिक्कोस्। यो बिचमा कहीँ दुर्घटनामा नपरोस्, दुई तिहाइको सरकारले नै विकास नगरेमा कसले गर्ने हो। शंकाको सुविधा पनि पाउँछौँ। राम्रो काममा सहयोग गर्छौं। अब यसो भनि आउने वर्गलाई नै आफ्नो काम कार्वाही कानुनको शासनको पक्षमा काम गर्नलाई अवरोध गर्ने हो भने त्यो प्रिय विषय होइन। हामीले कुनै पनि कार्यक्रम तर्जुमा गर्नुपूर्व नै सरकारले करेक्सन गर्नेछ भन्ने कुरामा हामी आशावादी छौँ।

राष्ट्रपति पौडेलले प्रतिनिधीसभा र राष्ट्रिय सभालाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार (चैत २७) दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपति कार्यालय अनुसार, शुक्रबार दिउँसो ३ बजे सम्बोधन गर्ने गरी संसद् सचिवालयलाई पत्र पठाइएको छ । 

राष्ट्रपतिले गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि संसद्को अधिवेशनलाई सम्बोधन लागेका हुन् । र, यस्तो व्यवस्था संविधानमा छ । 

 

पौडेलमाथि ‘गर्जिए’ बादल

काठमाडौं।  नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवम् संसदीय दल नेता रामबहादुर थापा बादलले चैत १९ गते संसदमा दिएको अभिव्यक्तिले पार्टीभित्र लुकेका दक्षिणपन्थीलाई बाहिर ल्याइदिएको बताएका छन्।

पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा बुधबार पोखरामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै रामबहादुर थापा ‘बादल’ले आफूले संसदमा पार्टीकै आधिकारिक धारणा राखेको तर त्यसबाट पार्टीभित्रका दक्षिणपन्थी प्रवृत्तिहरू प्रभावित भएको बताएका हुन्।

उनले भने, ‘पार्टीको उपाध्यक्षले एउटा सार्वजनिक स्टेटमेन्ट उहाँले जारी गर्नुभयो कि दल नेताले त्यहाँ जुन धारणा राख्नुभयो, संसदमा, त्यो पार्टीका स्थापित मान्यता विपरीत छ। त्यसमा घोर आपत्ति छ। यो बारेमाचाहिँ सचिवालयको बैठक राखेर चाहिँ उपयुक्त निर्णय लिइने छ भनेर ।

बादलले सदनमा सम्बोधनका क्रममा भनेका थिए, ‘यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क-कसको निर्णायक भूमिका रह्यो? तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला कार्की सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो।’

पार्टीको स्थापित नीति र धारणा विपरीत अभिव्यक्ति दिएको भन्दै उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाएका थिए।

पौडेलले भनेका थिए,‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन् ।’

भोलिपल्टै सचिवालयको बैठक राखेर एमालेले बादलको अभिव्यक्ति सच्याएको थियो। सचिवालय बैठकले बादलको अभिव्यक्ति सच्याउँदै नेपाली सेना, कर्मचारीतन्त्रप्रति एमालेको वैरभाव नरहेको निष्कर्ष निकालेको थियो।

बुधबार पोखरामा बादलले आफूले सदनमा बोलेपछि एमालेभित्र पैदा भएको हलचललाई अन्तरसंघर्षको नाम दिएका छन् ।

‘यहाँ हेर्नुहोस् है अन्तरसंघर्षको स्थिति कस्तो छ, मान्छेहरूचाहिँ त्यो वक्तव्य उत्तेजित भए,’ उनले भने, ‘भित्र लुकेका थिए, बाहिर देखिए। त्यो स्टेटमेन्टलेचाहिँ पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्तिलाई चाहिँ एक्सपोज गरेको मात्रै हो, त्यो। कन्फ्युज भएको होइन। त्यो कन्फ्युजनलाई चाहिँ प्रष्ट पार्न स्टेटमेन्ट (सदनमा अभिव्यक्ति) दिइएको हो,’ उनले भने।

आफूले सदनमा जे बोलेको हो। जे स्टेटमेन्ट दिइएको हो, त्यो पार्टीको लाइन अनुसार नै भएको उनको आज पनि जिकिर थियो।

त्यसदिनको अभिव्यक्ति दक्षिणपन्थीहरूलाई र पार्टीभित्र लुकेका दक्षिणपन्थीहरूलाई पनि आक्रमण भएको उनको तर्क छ। ‘त्यो स्टेटमेन्टले भित्रका र बाहिरका दक्षिणपन्थी एक्सपोज भए। यो चाहिँ पार्टीको लाइन त्यहाँ बोलिएको थियो,’ उनले भने।

बढ्यो सार्वजनिक यातायातको भाडा : कुन मा कति ?

काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेपछि भाडादर समायोजन गरिएको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार वैज्ञानिक भाडादर समायोजन प्रणालीअनुसार यात्रुवाहक सवारीको भाडा साविकको दरभन्दा १६.७१ प्रतिशतले बढाइएको छ।

त्यसैगरी, मालवाहक सवारीतर्फ पहाडी क्षेत्रका लागि २१.६८ प्रतिशतले भाडा वृद्धि गरिएको छ भने तराई क्षेत्रका लागि १५.७५ प्रतिशतले भाडा बढाउने निर्णय भएको छ।

खाडी मुलुकमा चर्किएको युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भई मूल्य वृद्धि हुँदा नेपालमा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेल प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ। तेलको मूल्य बढेसँगै यातायात व्यवसायीहरूले भाडादर समायोजन गर्न सरकारलाई दबाब दिँदै आएका थिए। सोही दबाबका आधारमा सरकारले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो।

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते

कञ्चनपुर। कञ्चनपुर  कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। घाइते पाँच जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

तीन जनाको टाउकोमा मध्यम र दुई जनालाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो करिब १२ बजेतिर कैदीबन्दीबीच आपसी विवाद हुँदा होहल्ला र गालीगलौज बढ्दै गएर झडपको अवस्था सिर्जना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

झडपमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा–११ का १९ वर्षीय भुवन नाथ, २६ वर्षीय भुवन ऐर, भीमदत्त नगरपालिका–७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका–८ का २६ वर्षीय राजु दमाई घाइते भएका हुन्।

कारागारमा झडप हुने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट १९ जनाको टोली खटिएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिएको जनाएको छ।

चन्द्रमाबाट पृथ्वीको दुर्लभ दृश्य कैद (तस्वीरहरु)

एजेन्सी। अमेरिकी अन्तरिक्ष अभियान आर्टेमिस-२ का अन्तरिक्षयात्रीहरूले चन्द्रमाको टाढाको भागबाट पृथ्वी र चन्द्रमाको आकर्षक दृश्य कैद गरेका छन्।

उनीहरूले चन्द्रमाको क्षितिजमुनि पृथ्वी हराउँदै जाने ‘अर्थसेट’दृश्यसमेत खिचेका छन्,जुन अन्तरिक्षबाट देखिने दुर्लभ दृश्यमध्ये एक मानिन्छ।

यी तस्बिरहरूमा पृथ्वीको अष्ट्रेलिया (अस्ट्रेलिया) र ओसियानिया (ओसियानिया) क्षेत्र स्पष्ट देखिन्छ भने अर्को भाग अँध्यारो अवस्थामा रहेकाले त्यहाँ रात परेको देखिन्छ।

यस प्रकारका दृश्यहरूले अन्तरिक्ष अन्वेषणप्रतिको चासो बढाउनुका साथै पृथ्वीको अवस्थाबारे वैज्ञानिक अध्ययनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तस्वीरहरु:

FD06_high priority pao
FD06_high priority pao
FD06_high priority pao
FD06_high priority pao
FD06_high priority pao

सदीयौँ नेपालमा देखि रहेको नातावाद, कृपावाद भाइरस अन्त्य गर्न महावीर पुनको माग (भिडियो)

काठमाडौं। प्रतिनिधि सभा सदस्य महावीर पुनले नेपालमा लामो समयदेखि जरा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता प्रवृत्तिबाट सरकार, राजनीतिक दल र सांसदहरू मुक्त हुनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले यस्ता प्रवृत्ति नेपालको इतिहासदेखि नै कायम रहेको उल्लेख गर्दै सांसदहरु यसबाट मुक्त हुनुपर्ने बताएका हुन्। नेपाल एकीकरणपछि रणबहादुर शाहको बाल्यकालमा शासन सञ्चालनका क्रममा नै यस्तो प्रवृत्तिको सुरुआत भएको उनको भनाइ थियो।

राणा शासनको अन्त्य, प्रजातन्त्रको स्थापना र गणतन्त्रको अभ्यासपछि पनि यस्ता विकृति विभिन्न रूपमा कायम रहेको उनले बताए। यी प्रवृत्तिले देशको विकास र सुशासनमा गम्भीर असर पारेको उल्लेख गर्दै उनले यसलाई अन्त्य गर्न तत्काल पहल आवश्यक रहेको धारणा राखे।

पुनले सरकार, राजनीतिक दलका नेता तथा सांसदहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर योग्य र निष्पक्ष व्यक्तिलाई अवसर दिनुपर्नेमा जोड दिए। त्यसो गर्न सके मात्र मुलुकमा दिगो विकास र सुशासन सुनिश्चित हुने उनको भनाइ थियो।

ओलीको मुद्दा तत्काल फिर्ता गर्न एमाले सासंदको माग (भिडियो)

काठमाडौं। नेकपा (एमाले)की सांसद निता घतानीले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता गर्न माग गरेकी छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा उनले सो माग गरेकी हुन् ।

उनले भनिन्, ‘हाम्रो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता गर्न जोडदार माग गर्दछु । राजनीतिक प्रतिशोधका आधार लगाएर यस्ता मुद्दाहरूले राजनीतिक मर्यादा र संविधानको मर्मलाई गम्भीर रूपमा कमजोर बनाउँछन् । संविधानको अधिकार र कानुनी संरक्षणलाई मध्यनजर राखेर मुद्दा तत्काल फिर्ता गरियोस्।’

 

सरकारले कति बढायो गाडी भाडा ?

काठमाडौं।सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ। इन्धनको मूल्यमा भएको उतारचढाव र विभिन्न सूचकहरूलाई आधार मानेर नयाँ भाडादर निर्धारण गरिएको हो।

नयाँ व्यवस्थाअनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। त्यस्तै, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गरिएको छ।

इन्धनको मूल्यमा आएको परिवर्तनलाई नै भाडा वृद्धिको मुख्य आधार मानिएको विभाग स्रोतले जनाएको छ। अब सर्वसाधारणले यात्रा गर्दा तथा सामान ढुवानी गर्दा नयाँ दरअनुसार शुल्क तिर्नुपर्नेछ।

यातायात व्यवस्था विभागले भाडा समायोजनका लागि मन्त्रालयमा प्रस्ताव पठाएको थियो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले उक्त प्रस्ताव स्वीकृत गरेसँगै भाडा वृद्धि कार्यान्वयनमा आएको हो। अब विभागले औपचारिक सूचना जारी गरी जानकारी दिने तयारी गरेको छ।

सांसद यादवको माग : ‘केपी र बादलको भुत झार्ने झाँक्रीको व्यवस्था गरियोस्’ (भिडियो)

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरुषोत्तम यादवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छलेको भूतको सवार अहिले एमाले संसदीय दलको नेता रामबहादुर थापा बादलमा सवार रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

यादवले भने, ‘जेनजी आन्दोलनसम्म प्रधानमन्त्री रहनुभएका ओलीज्यूलाई जुन भूतले छलेको थियो । अहिले त्यही भूत बादलज्यूमा सवार रहेको देखिन्छ ।’  थप्दै उनले भने ,त्यसैले सरकारसंग जोडदार माग गर्दछु एउटा भुत झार्ने झाँक्रीको व्यवस्था गरियोस्। किनकी आज जुन अपराधी कारागारमा हुनुपर्ने त्यो हस्पिटलको बेडमा छ’

यादवले वर्तमान सरकार र संसद जेनजी आन्दोलनका क्रममा भएको घटनापछि बनेको उल्लेख गर्दै आन्दोलनका घाइतेलाई निःशुल्क उपचार तथा मृतकका परिवारलाई रोजगारीको व्यवस्था कहिले हुने हो भन्ने प्रश्न समेत उठाए।

भारतीय सवारीबाट प्रवेश पासमा भएको दुरुपयोग रोक्न माग (भिडियो)

काठमाडौं। सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भएको बताएकी छन् । बुधवार भएको प्रतिनिधिसभा बैठकमा उनले भारतीय सवारीले प्रवेश पासमा भएको दुरुपयोग रोक्न माग गरेकी हुन् ।

उनले भनिन् , ‘नियम अनुसार एक दिनको पास लिएर आएका सवारी फिर्ता जानुपर्ने हो  । तर व्यवहारमा नेपालमै निजी तथा सार्वजनिक सवारीका रूपमा सञ्चालन भइरहेका छन् । जसको प्रत्यक्ष प्रभाव ठुलो भन्सार शुल्क तिरेर भित्र्याइएका सवारीमा परेको छ,

भारतीय नम्बर प्लेटका कारण यातायात व्यवसायी र सवारी चालक प्रभावित भनेको उल्लेख गर्दै डाँगीले भनिन्,‘ मेरो निर्वाचन क्षेत्र मेचीनगरको मात्र समस्या होइन यो । प्रत्येक सीमा क्षेत्रमा भारतीय नम्बर प्लेटका कारण यातायात व्यवसायी र सवारी चालक प्रभावित छन् ।’

उनले भारतीय सवारीका कारण दुर्घटना भए क्षतिपूर्ति पाउनसमेत समस्या रहेकाले सीमा नाकामा अनुगमन गर्न र डे पासको दुरुपयोग रोक्न समेत माग गरेकी छन् ।

रासायनिक मल अभाव नदोहोरिने सुनिश्चित गर्न सरकारसँग माग सांसद पाठकको माग (भिडियो)

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद देवराज पाठकले किसानलाई खेतीको समयमा रासायनिक मल अभाव नदोहोरिने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले किसानलाई आवश्यक समयमा मल उपलब्ध नहुँदा विगतमा भोगिएको समस्या फेरि दोहोरिन नहुनेमा जोड दिएका हुन् ।

सांसद पाठकले किसानलाई देशका अन्नदाता भन्दै खेतीको समयमा मलका लागि याचना गर्नुपर्ने अवस्था आउन नहुने बताए।

उनले भने, ‘किसान हाम्रा अन्नदाता हुन्। विगतमा झैँ खेतीको समयमा किसानले रासायनिक मलका लागि याचना गर्नुपर्ने नियति नदोहोरियोस्। यस वर्ष सरकारले के तयारी गरेको छ ? म सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले मल आपूर्तिका लागि सरकारले गरेको तयारीबारे सदनलाई जानकारी गराउन पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद समिना मियाँले राखिन् सडक सुधारको यस्तो माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँले सडक सुरक्षाका लागि तत्काल आवश्यक सुधारका कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छन्। बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले सडक दुर्घटनामा बर्सेनि हजारौँ नागरिकको ज्यान जाने गरेको उल्लेख गर्दै सडक सुरक्षाका उपायहरू तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी हुन् ।

उनले जलेश्वर-बर्दिबास सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एसइई परीक्षा दिएर घर फर्कँदै गरेका तीन जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन्। सांसद मियाँले जोखिमयुक्त सडक खण्डमा गति नियन्त्रणसम्बन्धी सूचना, समयमै सडक मर्मतसम्भार, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन, तथा युवा र विद्यार्थी लक्षित सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन्।

उनले विद्यालयस्तरमै सडक सुरक्षासम्बन्धी अनिवार्य सचेतना अभियान सञ्चालन गर्न पनि माग गरिन्। साथै, आपत्कालीन उद्धार प्रणाली सुधार गर्दै दुर्घटना भएलगत्तै छिटो उद्धार र उपचार सुनिश्चित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

यसै सन्दर्भमा उनले नीतिगत मागहरु समेत प्रस्तुत गारिन् ।

प्रधानमन्त्रीले सांसदबीच विभेद गरेको एमालेको आरोप

काठमाडौं। नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले सरकारले प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदबीच विभेद गरेको भन्दै आपत्ति जनाएकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले विकास निर्माणका विषयमा प्रत्यक्ष निर्वाचित सांसदसँग मात्रै छलफल गरेर विभेद गरेको आरोप लगाएकी हुन् ।

उनले भनिन्, ‘प्रत्यक्ष निर्वाचित सांसदहरूलाई भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिनुभएको सुन्नमा आएको छ। तर समानुपातिकतर्फबाट आएकाहरूलाई त्यो अवसरबाट किन वञ्चित गरियो ?’

उनले सांसद हमालले सबै सांसदलाई समान रूपमा व्यवहार गर्न सरकारसँग माग गरिन्।

त्यस्तै,उनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रिहाइको मागसमेत गरिन्।

राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले परित्याग गरिन् एमाले

काठमाडौं। दलीय भागबन्डाका आधारमा राष्ट्रियसभा उपाध्यक्ष बनेकी नेकपा (एमाले)की लीलाकुमारी भण्डारीले पार्टी परित्याग गरेकी छन्।

निष्पक्षता र तटस्थता कायम राख्नुपर्ने संसदीय मर्यादाअनुसार पार्टीका सबै जिम्मेवारीबाट अलग भएको उनले बताएकी हुन्।

भण्डारी गत माघ २० गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन् भने चैत २३ गते उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन्।

फिल्म ‘एक्का तीन’मा पूजा शर्माको जोडीमा पुष्प खड्का

काठमाडौं। आगामी जेठ महिनाबाट छायाङ्कनमा जाने तयारीमा रहेको फिल्म ‘एक्का तीन’मा अभिनेत्री पूजा शर्माको जोडीका रूपमा अभिनेता पुष्प खड्का चयन भएका छन्। निर्माण युनिटले बुधबार पुष्प खड्का फिल्ममा अनुबन्धित भएको जानकारी दिएको हो।

अब फिल्ममा पूजा र पुष्प प्रेमी-प्रेमिकाको भूमिकामा देखिनेछन्।  फिल्मको निर्देशन रुपेश तामाङले गर्ने भएका छन्। यसअघि नै पूजा शर्मा मुख्य भूमिकाका लागि फाइनल भइसकेकी थिइन्।

एक्सन जनरामा निर्माण हुने उक्त फिल्ममा एक-एक जना नव-नायक र नव-नायिकालाई समेत भित्राउने तयारी गरिएको छ।  फिल्मको कथा सुमन गजमेरले लेखेका हुन् भने फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्ले निर्माण गर्ने भएका छन्।

पुष्प खड्का र पूजा शर्माले यसअघि फिल्म ‘३६ को आँकडा’मा पनि सँगै काम गरिसकेका छन्। उनीहरूले केही म्युजिक भिडियोमा समेत सहकार्य गरेका छन्।

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जनाएको छ।

स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि देउवा दम्पत्ति हाल नेपाल बाहिर रहेकाले पक्राउ गर्न नसकिएको हो।

पक्राउ परेका वार्नरलाई अर्को महिना अदालतमा उपस्थित हुन निर्देशन

एजेन्सी। मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा पक्राउ परेका अस्ट्रेलियाका पूर्वओपनर डेविड वार्नरलाई आगामी महिनामा अदालतमा उपस्थित हुन निर्देशन दिइएको छ।

अस्ट्रेलियाली सञ्चारमाध्यम न्युजकमएयू अनुसार उनलाई मे ७ मा डाउनी सेन्टर लिगल कोर्टमा उपस्थित हुन आदेश दिइएको हो।

न्युजकमएयूका अनुसार सिड्नीको मारौब्रा क्षेत्रमा अप्रिल ५ मा न्यु साउथ वेल्स प्रहरीले गरेको मादक पदार्थ सेवन जाँचका क्रममा वार्नरको शरीरमा तोकिएको सीमाभन्दा बढी अल्कोहल रहेको पुष्टि भएको थियो।

जाँचमा उनको शरीरमा भेटिएको मादक पदार्थको मात्रा अस्ट्रेलियामा तोकिएको सीमाभन्दा करिब दोब्बर रहेको जनाइएको छ।

कानुनमन्त्री सोविता गौतम र स्वीट्जरल्यान्डका राजदूतबीच शिष्टाचार भेट

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युलीबीच शिष्टाचार भेटवार्ता भएको छ।

भेटका अवसरमा राजदूत म्युलीले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरेको जनाइएको छ।

भेटवार्ताका क्रममा नेपाल र स्वीट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, आपसी सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच अभिवृद्धि लगायतका विषयमा दुई पक्षबीच विचार आदानप्रदान भएको बताइएको छ।

तस्वीरहरु:

राष्ट्रिय सभाका नवनिर्वाचित समिति सभापतिहरूले लिए शपथ (तस्वीरहरु)

काठमाडौं।  संघीय संसदअन्तर्गत राष्ट्रिय सभाका विभिन्न विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ क को उपनियम (२) बमोजिम नवनिर्वाचित सभापतिहरूलाई शपथ गराएका हुन्।

बुधबार सिंहदरबारस्थित लेखा समितिको हलमा आयोजित कार्यक्रममा सभापतिहरूलाई शपथ ग्रहण गराइएको हो। मंगलबार सम्पन्न समिति सभापतिको निर्वाचनमा विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्णप्रसाद पौडेल रहेका छन्।

त्यस्तै,विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्णबहादुर रोकाया, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्ती देवी राई निर्विरोध निर्वाचित भएका हुन् ।

कार्यक्रममा राष्ट्रिय सभाका पदाधिकारी, सांसद तथा सचिवालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

तस्वीरहरु :

 

ओली-लेखकको मुद्दामा सरकारी वकिलसँग प्रहरीले माग्यो लिखित राय

काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको मुद्दासम्बन्धमा प्रहरीले सरकारी वकिलसँग लिखित राय माग गरेको छ। जिल्ला प्रहरी स्रोतका अनुसार सो सम्बन्धी पत्र सरकारी वकिलको कार्यालयमा दर्ता भइसकेको छ।

जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ प्रतिवेदनको सिफारिसअनुसार ज्यान मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका ओली र लेखकलाई थप म्याद नदिन सर्वोच्च अदालतले सोमबार आदेश दिएको थियो।

कानूनअनुसार ज्यान मुद्दामा पक्राउ परेका व्यक्तिलाई अनुसन्धान गर्न प्रहरीले २५ दिनसम्मको म्याद पाउने व्यवस्था छ। सो अवधिभित्र सरकारी वकिलमार्फत जिल्ला अदालतमा मुद्दा पेश गर्नुपर्ने हुन्छ। तर सर्वोच्च अदालतले तेस्रो पटक थप भएको ५ दिनभित्रै मुद्दा पेश गर्ने वा अनुसन्धान अधिकृतले जिम्मा जमानीमा छाड्ने विकल्पमध्ये एक अपनाउन आदेश दिएको हो।

प्रहरीले ओली र लेखकलाई पक्राउ गरेपछि तीन चरणमा गरी जम्मा १२ दिनको अनुसन्धान समय पाएको जनाएको छ। सो अवधिमा ज्यान मुद्दाका लागि आवश्यक कागजात तथा प्रमाण जुटाउन कठिन भएको प्रहरीको भनाइ छ।

सर्वोच्च अदालतको आदेशअनुसार म्यादभित्र मुद्दा पेश गर्न नसके मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम सरकारी वकिलको रायका आधारमा अनुसन्धान अधिकृतले हाजिरी जमानीमा छाड्न सक्ने व्यवस्था छ।

अनुसन्धान अधिकृतका रूपमा जिल्ला प्रहरी परिसर भद्रकालीको मुद्दा फाँटका डीएसपी राजु अधिकारीले जिल्ला सरकारी वकिलको कार्यालयसँग राय माग्दै पत्र पठाएका हुन्।

अब सरकारी वकिलको कार्यालयबाट प्राप्त रायका आधारमा ओली र लेखकलाई हाजिरी जमानीमा छाड्ने वा मुद्दा पेश गर्ने विषयमा निर्णय हुने जिल्ला प्रहरी स्रोतले जनाएको छ। जिल्ला अदालतले चैत २२ गते अन्तिम पटक ५ दिनको म्याद थप गरेको थियो, उक्त म्याद बिहीबार सकिँदैछ।

युद्धविरामले विश्व बजारमा तेलको भाउ १५ प्रतिशतले घट्यो

एजेन्सी। इरान र अमेरिका बीच दुई हप्ते युद्धविरामको सम्झौता भएपछि विश्व अर्थतन्त्रमा राहत देखिएको छ। होर्मुज जलमार्ग पुनः सुचारु हुने र तेल तथा ग्यास आपूर्ति सहज हुने अपेक्षासँगै बुधबार कच्चा तेलको मूल्यमा गिरावट आएको हो।

त्यस्तै विश्वका प्रमुख सेयर बजारमा उछाल देखिएको छ। फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि चुलिएको तनावका कारण विश्वको करिब २० प्रतिशत इन्धन ओसार्ने यो रणनीतिक जलमार्ग प्रभावित भएको थियो, जसले लामो समय बजारमा अस्थिरता र अनिश्चितता सिर्जना गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार लक्षित अन्तिम समयसीमा सकिनु केही घण्टाअघि युद्धविरामको घोषणा गरेपछि बजारमा तत्काल प्रभाव परेको देखिएको हो।

बजार विवरणअनुसार अमेरिकी कच्चा तेलको फ्युचर्स मूल्य करिब १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९६.३१ अमेरिकी डलरमा झरेको छ भने ब्रेन्ट क्रुड पनि १३ प्रतिशतले घटेर प्रतिब्यारेल ९५.३६ डलर कायम भएको छ। तेलको मूल्य घट्दा महँगी नियन्त्रणमा आउन सक्ने अपेक्षाले लगानीकर्ताहरू उत्साहित बनेका छन्।

सेयर बजारतर्फ, एस एण्ड पी ५०० फ्युचर्स २ प्रतिशतले बढ्दा युरोपेली बजारहरू ५ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। एसियामा जापानको निक्केई ५ प्रतिशत र दक्षिण कोरियाको कोस्पी ६ प्रतिशतले बढेपछि केही समय कारोबार नै रोकिएको थियो।

युद्धका बेला सुरक्षित मानिने अमेरिकी डलरको मूल्य भने घटेको छ। लगानीकर्ताहरू जोखिम लिने मनस्थितिमा फर्किँदै सेयर तथा अन्य सम्पत्तितर्फ आकर्षित हुँदा अस्ट्रेलियन डलर र युरोको मूल्यमा सुधार देखिएको छ।

विश्लेषकहरूका अनुसार यो सुधार तत्कालीन राहत मात्र हो वा दीर्घकालीन शान्तिको संकेत हो भन्ने कुरा आगामी वार्ताको परिणाममा निर्भर रहनेछ। साथै, होर्मुज जलमार्गमा ढुवानीप्रति बीमा तथा ट्याङ्कर सञ्चालकहरूको विश्वास कति बढ्छ भन्नेले पनि बजारको दिशा निर्धारण गर्ने बताइएको छ। केही विश्लेषकहरूले भने द्वन्द्वको मूल कारण समाधान नभएकाले यो सुधार अल्पकालीन हुन सक्ने चेतावनी दिएका छन्।

एचजेएनबीएलको फाइनलमा आर्मी

काठमाडौं । त्रिभुवन आर्मी क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को फाइनलमा प्रवेश गरेको छ । आर्मीले गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै फाईनल पुगेको हो ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा मंगलबार भएको पहिलो क्वालिफायरमा आर्मीले गोल्डनगेटलाई ९०-७१ ले पराजित गर्दै फाईनल पुगेको हो ।

विभागिय टोलीले यस सिजनमा गोल्डेनगेटविरुद्ध खेलेको तीनै खेल जित्दै आफ्नो वर्चस्व कायम राख्न सफल भएको छ । यसअघि लिग चरणको दुवै खेलमा आर्मीले गोल्डेनगेटलाई हराएको थियो ।

सुरुवाती क्वाटरसम्म पछि परेको आर्मीले चौथो क्वाटरमा शानदार प्रदर्शन गर्दै जित हात पारेको हो । पहिलो क्वाटरमा गोल्डेनगेटले २५-१७ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर १३-१३ को बराबरीमा सकिएपछि गोल्डेनगेटले हाफटाईमसम्म ३८-३० को अग्रता बनायो ।

तेस्रो क्वाटर पनि २४-२१ को अग्रतामा रहेर गोल्डेनगेट ६२-५१ ले अघि थियो । तर आर्मीले चौथो क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै २९-९ ले आफ्नो पक्षमा पार्दै ८०-७१ ले खेल जितेको हो । आर्मीका कप्तान विनोद महर्जन म्यान अफ दि म्याच घोषित भए ।

७ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ७ हजार २ सय रुपैयाँले वृद्धि भएको छ । अमेरिका, इजरायल र इरानबीच युद्ध अन्त्यका लागि पहल भइरहेका बेला कच्चा तेलको मूल्य घटेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन भने सुन २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २०५ रुपैयाँले वृद्धि भई ५ हजार २५ रुपैयाँ पुगेको छ । हिजो चाँदी ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो भने गत बुधबार ४ हजार ९४५ रुपैयाँ कायम रहेको थियो ।

प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक संसदलाई सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले संघीय प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्।

आज बस्ने बैठकलाई बालेनले सम्बोधन गर्नेछन्।

साथै, प्रधानमन्त्रीले आजै ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।

प्रतिनिधिसभाको बैठक दिउसो १ बजेको लागि बोलाइएको छ।

बलात्कार मुद्दामा फरार भएका युवक स्कुटर चोरीमा पक्राउ

काठमाडौं। बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका बेला कारागारबाट फरार भएका एक युवक चोरी आरोपमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खोटाङको तुवाचुङ जन्तरखानी नगरपालिका-१० का ३१ वर्षीय उमेश पुरी रहेका छन्। उनलाई काठमाडौंको तीनकुनेबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त थिमीमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले जानकारी दिएका छन्।

प्रहरीका अनुसार २०८२ साउन १९ मा बलात्कार मुद्दामा जेल परेका पुरी भदौ २४ मा डिल्लीबजार कारागारबाट फरार भएका थिए।

चैत २ गते उनले अनलाइनमा बिक्रीका लागि राखिएको स्कुटर किन्ने बहानामा झिकाएर परीक्षणका लागि भन्दै लिएर फरार भएका थिए। बागमती प्रदेश-०२-०४३ प ५३७६ नम्बरको उक्त स्कुटर प्रहरीले बरामद गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय थिमी शाखाको टोलीले चैत २२ मा उनलाई पक्राउ गरेको हो।

यसअघि पनि पुरी बहुविवाह तथा चोरीका मुद्दामा पक्राउ परिसकेका छन्। बलात्कार मुद्दामा तेस्रो पटक र चोरीमा चौथो पटक पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तीन दिनपछि फेला पर्यो युवकको शव

प्यूठान।  प्यूठानमा नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्।

स्वर्गद्वारी नगरपालिका-६ भानडाँडाका १९ वर्षीय नवराज घर्ती चैत २३ गते दिउँसो माण्डवी गाउँपालिका-१ सिमचौरस्थित माडी नदीमा नुहाउने क्रममा बगेर हराएका थिए। उनी ट्याक्टरका सहचालकका रूपमा काम गर्दै आएका थिए।

घटनापछि गरिएको खोजीका क्रममा तीन दिनपछि बुधबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ।

राजनीतिक क्रान्तिका ‘फ्रन्टलाइनर’ विद्यार्थी सङ्‍गठनहरू खारेजीकाे माेडमा

काठमाडौं । कुनै समय मूलधारको राजनीतिमा प्रभावशाली देखिएका विद्यार्थी संगठनहरु यतिबेला अस्तित्व रक्षाको संघर्षमा छन्। दलहरु प्रतिबन्धमा रहेका बेला नेपाली राजनीतिको मियोको रुपमा विद्यार्थी संगठनहरु हुने गर्दथे। तर, आफ्नै कार्यशैलीका कारण विधार्थी आन्दोलन अहिले अस्तित्व रक्षाको संकटमा फसेको  छ।

गत चैत १३ गते बसेको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारकाे १०० कार्यसूची सार्वजनिक गर्‍याे। कार्यसूचीको नम्बर ८६ मा छ- विश्‍वविधालयमा रहेका दलीय विद्यार्थी संगठन हटाउने।

सरकारको यो निर्णयले राजनीतिकवृत्तमा चर्को बहस पनि छेँडिएकाे छ । वर्षाैँदेखि संघर्षमार्फत् स्थापित विद्यार्थी संगठन खारेजीको निर्णय सरकार आफ्नै लागि भारी पर्ने विश्लेषण पनि भइरहेकाे छ । अर्कोतिर, एक दशकयताको विद्यार्थी संगठनकाे काम कारबाहीले उनीहरुलाई त्यो स्थानमा पुर्‍याएकाे भन्‍न अप्ठ्यारो छैन। राजनीतिक परिवर्तनसँगै आफूलाई परिवर्तन गर्न नसकेका विद्यार्थी संगठनलाई सरकारले खारेज गरिदियो भने उनीहरुले के गर्लान् ?

सरकारको यो निर्णयबाट विभिन्‍न पार्टीनिकट दलीय संगठनहरु निकै असन्तुष्ट छन्। १४ भ्रातृ संगठनहरुकाे संयुक्त बैठक बसेर उक्त निर्णयको प्रतिवाद गर्ने निर्णयसमेत गरेका छन् ।

पछिल्लो समय विद्यार्थी संगठनहरुमाथि गुण्डागर्दी र चन्दा उठाउँदै आतंक मच्चाएकाे आरोप लाग्दै आएको थियो। विद्यार्थीका समस्या केन्द्रित हुनुको साटो संगठनहरु पार्टीको मुखपत्रजस्ता हुने गरेको आरोप पनि छ। ७० को दशकयता विद्यार्थी संगठनहरु राजनीतिक खिचातानी, पद र स्वार्थको गोटीजस्तै बन्‍न पुगे।

२०१७ सालदेखि २०४६ सालसम्म देशमा दलहरु प्रतिबन्धित रहँदा विद्यार्थी संगठनहरुले नै दलीय भूमिका निर्वाह गरेकाे यथार्थ नकार्न सकिँदैन। भनिन्छ, २०३६ सालको जनमत संग्रह र २०४६ सालको प्रजातान्त्रिक आन्दोलन विद्यार्थी संगठनहरुकै भूमिकाका कारण सम्भव भएको हो। 

तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ र २०६१ सालमा ‘कु’ गर्दा दाेस्राे जनआन्दोलन भयो, जसलाई ०६२/६३ को १९ दिने जनआन्दोलन भनिन्छ । याे जनआन्दाेलनमा समेत विद्यार्थी संगठनहरुले अग्रणी भूमिका निर्वाह गरेका थिए। यसर्थ, नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनामा विधार्थी संगठनहरुले निर्णायक भूमिका देखिन्छ।

तर, ०६५ सालमा गणतन्त्र घोषणा भइसकेपछि भने विधार्थी संगठनहरु आफैँ खिइँदै गए। व्यवस्था परिवर्तनको आन्दोलनहरुमा सक्रिय र प्रभावकारी काम गरेका संगठनहरुले त्यसयता भने आफूलाई रुपान्तरण गर्न सकेनन्। शिक्षालयमा हुने तमाम् बेथितिहरुमा रुमलिएका संगठनहरुले पछिल्लो दुई दशकमा आफ्नो गर्विलो इतिहासलाई झनै कमजोर बनाउँदै लगे ।

नेपाली विद्यार्थी आन्दोलनको इतिहास

नेपालमा विद्यार्थी आन्दोलनको सुरुवात २००० को दशकबाट सुरु भएको भनिए तापनि वि.सं. १९९१ मै भारतको वनारसमा पढ्ने केही विद्यार्थीले नेपाली छात्र संघको स्थापना गरेका थिए । अदृश्य रुपमा नेपाली छात्र संघमार्फत् भएकाे आन्दोलनबीच १९९७ मा गंगालाल श्रेष्ठ शहीद बने। उनलाई नेपालको पहिलो विद्यार्थी शहीद मानिन्छ।

२००४ सालमा भएको ‘जयतु संस्कृतम्’ नेपालको पहिलो विधार्थी आन्दोलन हो। तीनधारा संस्कृत पाठशालाका विद्यार्थीहरूले भूगोल, इतिहास, अर्थशास्त्रजस्ता विषय समावेश गर्नुपर्छ भनी सुरू गरेको आन्दोलनमा तत्कालीन राणा प्रधानमन्त्री पदम शमशेरले दमन गर्न थालेपछि यो आन्दोलन राणाहरुकै लागि प्रत्युत्पादक बन्याे । परिणामस्वरुप, साेही आन्दोलनको जगमा वि.स. २००७ सालमा नेपालबाट राणाशासन सदाका लागि अन्त्य भयो।

०१९ सालमा स्वतन्त्र विधार्थी युनियन गठनको प्रक्रिया सुरु भयो र ०२० सालमा पहिलोपटक स्वतन्त्र विधार्थी युनियनको निर्वाचन सम्पन्‍न भयो। २०१७ सालमा तत्कालिन राजा महेन्द्रले शासनसत्ता हातमा लिँदै राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाए। त्यसकै पेरिफेरीमा संगठनहरुमार्फत् विद्यार्थीहरु आन्दोलनमा संगठित हुन सहज थिएन।

यसैक्रममा, राजनीतिक दलहरु प्रतिबन्धित रहेकाे बेला ०२२ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन(हालको अनेरास्ववियु) स्थापना भयो। त्यसको ५ वर्षपछि २०२७ सालमा नेपाल विद्यार्थी संघ(हालको नेविसंघ) को स्थापना भयो। त्यसबेला २०१५ सालको आमनिर्वाचनमा भाग लिएका ९ वटै राजनीतिक दल प्रतिबन्धमा थिए।

२०३० सालमा तत्कालीन राजा महेन्द्रले स्ववियुमाथि पनि प्रतिबन्ध लगाए। ३० को दशकबाट नै नेपाली राजनीतिमा विद्यार्थी संगठनहरुले कठोर संघर्ष सुरु गरेका हुन्। २०३६ सालको जनमत संग्रह, २०४७ सालको प्रजातन्त्र पुन:स्थापनाका लागि भएको आन्दोलन र २०६२/६३ को संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएको जनआन्दोलनमा विद्यार्थी संगठनहरुले ‘फ्रन्टलाइनर’को भूमिका निर्वाह गरे।

तर, विद्यार्थी संगठनहरुको नेतृत्व चयन र कार्यशैली पछिल्लो समय नेता र पार्टीमुखी भयो। स्वेच्छिक हुनुपर्ने विद्यार्थी आन्दोलन नियन्त्रित हुन थालेपछि विद्यार्थी आन्दोलन अस्तित्व रक्षाको संघर्षमा आइपुगेको हो। बढ्दाे भूमण्डलीकरण र विश्व्यापीरुपमा भएको प्रविधिको विस्तारमा विद्यार्थी संगठनहरुले आफूलाई परिमार्जितगर्न नसकेको देखिन्छ। वैश्‍विक शिक्षा राजनीतिमा आफैँलाई ‘अपडेट’ गर्न नसक्नु र आन्तरिक राजनीतिक अस्थिरताको जालोमा फस्‍नुले विद्यार्थी संगठनको यो हविगत निम्तिएकाे टिप्पणी हुने गरेकाे छ । 

देशको राजनीतिक शक्ति सन्तुलनका दृष्टिले पनि विद्यार्थी संगठनहरु अलमलिएका छन् । २०६५ सम्म विद्यार्थी सङ्‍गठनहरु व्यवस्था परिवर्तनका लागि लडिरहे । व्यवस्था परिवर्तनसँगै आन्दोलनकाे माेडालिटी फेर्नुपर्ने जिम्मेवारी विद्यार्थी संगठनहरुमाथि थियो। व्यवस्था परिवर्तनको आन्दोलनअघि आफ्नै सरकारको प्रतिपक्षीजस्तो देखिने विद्यार्थी सङ्‍गठनहरु पछिल्लो एकदशक यता सत्तासँग घुँडा टेकेको कुरा कटु यथार्थ हो। त्यहीकारण आज विद्यार्थी संगठनहरु रहने कि नरहने प्रश्‍न राजनीतिकवृत्तमा गम्भीर र नाटकीय रुपमा उब्जिएको छ।

पञ्‍चायतको कालकोठरी, दमन, शोषण र आन्दोलनका आँधीबेहरीसँग लडेर आएका विद्यार्थी संगठनलाई औचित्य समाप्त भएको भन्दै वर्तमान बालेन सरकारले ९० दिनभित्र खारेज गर्ने निर्णय गरेको छ। बरु उनीहरुको ठाँउमा ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ बनाउने सरकारको योजना छ।

के भन्छन्  विद्यार्थी नेताहरु ?

९० दिनभित्र विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आदित्य दासकाे असहमति छ । उनका अनुसार  संगठन बनाउने कुरा संविधानप्रदत्त अधिकार हाे । संगठन बनाउने र त्यसमा सहभागी हुने अधिकार संविधानले नै सुनिश्‍चित गरेको हुनाले यस्तो निर्णय गर्नुअघि संविधान संशोधन आवश्यक हुने उनकाे भनाइ छ । 

दासले विद्यार्थी संगठनलाई केवल राजनीतिक संरचना नभई विकास र उत्पादनसँग जोडिएको संस्था भएको बताएका छन्। विश्‍वविद्यालयमा फुटबल टिमदेखि आईटी र कृषि क्षेत्रमा क्रियाशील समूहहरू समेत संगठनकै रूप भएको उनको तर्क छ। उनले पछिल्लो ६० वर्षमा विद्यार्थी आन्दोलनले ठूलो परिवर्तन ल्याएको स्मरण गर्दै सरकारसँग संवाद र समन्वयमार्फत् सुधार गर्नुपर्ने धारणा राखे।

आदित्य भन्छन्, ‘हामी पशुपति क्याम्पस जान्छौँ, संगठन बनाउँछौँ, सदस्य हुन्छौँ। के यो गर्न नपाइने हो? विश्वविद्यालयमा फुटबल टिम पनि छ। यी सबै विकास र उत्पादन गर्ने संगठनहरू हुन्। तपाईंले देख्न सक्नुहुन्छ कि पछिल्लो ६० वर्षमा विद्यार्थी संगठनको आन्दोलनले धेरै परिवर्तन ल्याएको छ।’

उनले शिक्षाको अधिकारभित्र विद्यार्थी संगठन अनिवार्य रूपमा समेटिनुपर्ने बताए। सरकारको निर्णय अपरिपक्‍व देखिएको भन्दै उनले आवश्यक परे विद्यार्थीहरू एकजुट भएर प्रतिरोधमा उत्रिने चेतावनी दिए। साथै, विद्यार्थी संगठनले सदैव विद्यार्थीका हकहितका लागि आवाज उठाउँदै आएको उनी बताउँछन् ।

‘मलाई लाग्छ संविधानअनुसार काम गर्नु सरकारको जिम्मेवारी हो, संविधानभित्र शिक्षाको अधिकार छ र शिक्षाको अधिकारभित्र विद्यार्थी संगठन पनि हुनुपर्छ,’ उनले नेपालवन एचडीसँग भने, ‘सरकारले सबै विद्यार्थी संगठनलाई बोलाएर नयाँ नियम बनाउने कुरा गरोस्, त्यसमा हामी खुसी छौँ। परिवर्तन आवश्यक छ भन्‍ने हामीले स्वीकार गरेका छौँ।’

अनेरास्ववियुले विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएको छ। महासचिव अञ्‍जना सिवाकोटीले संगठनभित्रका कमजोरी सुधार्नुको सट्टा खारेज गर्ने निर्णय गलत भएको र यसले ठूलो असर पार्ने चेतावनी दिइन्।

उनले निरंकुश शासनविरुद्ध विद्यार्थी आन्दोलनको ऐतिहासिक भूमिका रहेको स्मरण गर्दै लोकतन्त्रमा निरंकुशता लाद्‍ने प्रयास भए त्यसलाई प्रतिरोध गर्ने क्षमता विद्यार्थी संगठनसँग रहेको बताइन्।

‘निरंकुश शासनलाई त हामीले घुँडा टेकायाैँ भनेदेखि अहिलेको शासनमा यो लोकतन्त्रमा काेही निरंकुशता कसैलाई लाद्‍न खोज्छ भने त्यसलाई पनि ठेगानमा लाउन सक्ने ल्याकत विद्यार्थी संगठनसँग छ,’ सिवाकोटीले भनिन्, ‘सरकारले यो निर्णय नसच्याए विद्यार्थी सङ्‍गठनहरुले गर्ने सङ्‍घर्षकाे स्वरूप कस्तो हुन्छ भन्‍ने कुरा हिजो व्यवस्था परिवर्तनका आन्दोलनमा हामीले धेरै देखाइसकेका छाैँ । अहिलेको सरकारले पनि देख्छ।’

सरकार नयाँ भएकाले लोकतन्त्रको मर्म र इतिहास राम्रोसँग नबुझेको हुन सक्ने संकेत गर्दै उनले यसबारे जानकारी गराउने पनि बताइन्। उनका अनुसार वर्तमान राजनीतिक व्यवस्था विद्यार्थी आन्दोलनकै योगदानबाट स्थापित भएको हो।

‘वर्तमान सरकार लोकतन्त्र ल्याउनको निम्ति ठूलो योगदान दिएर आएको पार्टीकाे नभएकाे र मिडियाको, सामाजिक सञ्जालको प्रयोग गरेर स्थापित भएकाे हाे र यसका धेरै यस्ता नेताहरू छन्, जसले लोकतन्त्रको मर्म, यसको इतिहास बुझ्न नसक्नुभएको हो कि भन्‍ने आज हामीलाई भान भइरहेको छ,’ उनले अगाडि भनिन्।

सरकारले निर्णय सच्याएर जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने उनको धारणा छ। अन्यथा, विगतमा जस्तै विद्यार्थी आन्दोलन पुनः सशक्त बन्‍ने चेतावनी दिँदै उनले हालका लागि रचनात्मक रूपमा सरकारलाई सचेत गराउने प्रयास जारी रहने बताइन्।

उनले भनिन्, ‘आज राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाइ बहुमत ल्याउनको निम्ति निर्वाचन लड्ने अधिकार यही विद्यार्थी संगठनकै जगमा स्थापित लोकतन्त्रले निश्‍चित गरेकाे हाे । हामी रचनात्मक कार्यक्रमका माध्यमबाट यो सरकारलाई बुझाउने कोशिस गर्नेछौँ।’

त्यस्तै, अखिल क्रान्तिकारीका केन्द्रीय कमिटी सचिव शिशिर बस्यालले पनि सरकारको विद्यार्थी संगठन खारेजीको निर्णयमा कडा आपत्ति जनाएका छन्।

बस्यालले भने- ‘कसैले खारेज गर्दैमा  हामी खारेज हुने अथवा कसैले हामीलाई उपाधि ओढाइ दिँदैमा हामी उत्कृष्ट हुने होइन। विश्‍वविद्यालयमा संगठनहरू भएनन् भने विद्यार्थीका आवाजलाई संगठित रूपमा मुखरित गर्ने त कुनै पनि संरचना बाँकी रहन्‍नन् ।’

व्यक्तिका कमजोरीहरूलाई देखाएर पार्टीसँगको आबद्धतालाई नकरात्मक ढंगले प्रस्तुत गर्दै विद्यार्थी राजनीतिलाई बदनाम गर्न खोजिएको भन्दै उनले आपत्ति जनाए। उनका अनुसार विश्‍वविद्यालय र शैक्षिक संस्थामा संगठन नभए विद्यार्थीको आवाज संगठित रूपमा उठाउने कुनै संरचना बाँकी रहँदैन।

बस्यालले विद्यार्थी संगठनलाई प्रतिपक्षी आन्दोलनको रूपमा व्याख्या गर्दै सत्तापक्षले सधैं यस्तो आवाज दबाउन खोज्ने गरेको आरोप लगाए। ‘विद्यार्थी संगठन खारेज गरेर आफूविरुद्धको आवाज कमजोर बनाउने प्रयास भएको देखिन्छ,’ उनले भने, ‘सत्तापक्षले जहिल्यै पनि विरोधी आवाज दबाउन खोज्छ तर विद्यार्थी संगठन कसैको पेवा नभएकाले खारेज हुँदैन ’

उनले विद्यार्थी संगठनमाथि लाग्‍ने आरोपबारे प्रतिक्रिया दिँदै केही व्यक्तिको कमजोरीका आधारमा समग्र संगठनलाई दोष दिन नमिल्ने बताए। ‘यदि संगठनका नाममा गलत काम भएको छ भने कारबाही किन भएन?’ उनले प्रश्‍न गरे।

उनले विद्यार्थी संगठन वैचारिक रूपमा राजनीतिक दलसँग आबद्ध भए पनि सांगठनिक रूपमा स्वतन्त्र रहेको स्पष्ट पारे।  

विद्यार्थी आन्दोलनको इतिहास स्मरण गर्दै बस्यालले विद्यार्थी आन्दोलनले नेपालका प्रमुख राजनीतिक परिवर्तनहरूमा अग्रणी भूमिका खेलेको बताए । वर्तमान अवस्थामा पनि संगठनहरू विद्यार्थीका हकहितका लागि सक्रिय रहेको उनको दाबी छ ।

विद्यार्थी राजनीतिको विश्वव्यापी अभ्यास

भारतमा सन् १९४९ मा स्थापना भएको अखिल भारतीय विद्यार्थी परिषद् अहिले पनि राजनीतिको मियाे बन्दै आएकाे छ । यो संगठनमा ७६ लाख ९८ हजार ४ सय ४८ जना क्रियाशील सदस्य छन्।

नेशनल स्टुडेन्ट अफ इन्डिया विद्यार्थी राजनीतिको अभ्यास गर्ने अर्को भारतीय विद्यार्थी संगठन हो। यसको स्थापना सन् १९७१ मा भएको थियो भने अहिले यो संगठनमा करिब ५५ लाख क्रियाशील सदस्य छन्।

स्टुडेन्ट फेडेरेसन अफ इन्डिया, अल इन्डिया स्टुडेन्ट एसोसिएसन, अल इन्डिया स्टुडेन्ट फेडेरेसनलगायत अन्य विधार्थी संगठनहरु पनि भारतमा विद्यार्थी राजनीतिमा सक्रिय छन् । दक्षिण एसियाका बंगलादेश, पाकिस्तान, श्रीलंकालगायतका देशहरुमा पनि विद्यार्थी राजनीतिको गहिरो अभ्यास छ।

अल चाइना स्टुडेन्ट फेडेरेसन चीनको सबैभन्दा पुरानो र ठूलो विद्यार्थी संगठन हो, जसको स्थापना सन् १९१९ मा १0६ वर्षअघि भएको थियो। देशभरबाट आएका र जापानमा अध्ययनरत गरी ६० भन्दा बढी विद्यार्थी प्रतिनिधिहरू सम्मेलनले रिपब्लिक अफ चाइना विद्यार्थी संघको विधान पारित गरेको थियो।

चीनमै चाइना इन्टरनेसनल स्टुडेन्ट युनियन, इन्टरनेसनल स्टुडेन्ट युनियनलगायतका अन्य विद्यार्थी संगठन छन्।

आफूलाई विश्‍व राजनीतिको महाशक्ति दाबी गर्ने अमेरिकामा ३१ भन्दा बढी संगठनहरु विद्यार्थी राजनीतिमा सक्रिय छन् । सन् १९२८ मा स्थापना गरिएको ओक्लाहोमा स्टेट स्टुडेन्ट युनियन अमेरिकाको सबैभन्दा पुरानो विधार्थी संगठन हो भने १९२८ मै लोवा स्टेट युनिभर्सिटी मेमोरियल युनियनको पनि स्थापना गरिएको थियो। सन् १९३५ मा स्थापना भएको अमेरिकन स्टुडेन्ट युनियनलाई त्यहाँको सबैभन्दा ठूलो विद्यार्थी संगठन मानिन्छ।

अमेरिकामा अमेरिकन साइकोलोजिकल एसोसिएसन, सोका स्टुडेन्ट युनियनलगायत अरु विद्यार्थी संगठन पनि विद्यार्थी राजनीतिमा क्रियाशील छन्।

आजभन्दा १०४ वर्षअघि स्थापना भएको नेशनल युनियन अफ स्टुडेन्ट्स बेलायतभरका विद्यार्थी संघहरूको एक महासंघ हो। यसमा करिब ६०० विद्यार्थी संघहरू आबद्ध छन्, जसले बेलायतका उच्च तथा थप शिक्षासम्बन्धी ९५ प्रतिशतभन्दा बढी संघहरूको प्रतिनिधित्त्व गर्छ।

नेशनल युनियन अफ स्टुडेन्ट्स सबै आबद्ध संघहरूको केन्द्रीय संगठन भए पनि बेलायतका विभिन्‍न भागमा यसको विकेन्द्रित राष्ट्रिय उपसंस्थाहरू पनि छन्। स्कटल्याण्डमा एनयुएस स्कटल्यान्ड, वेल्समा एनयुएस वेल्स र उत्तरी आयरल्याण्डमा एनयुएस आयरल्याण्ड नामका विद्यार्थी संगठनहरू क्रियाशील रहेका छन्।

सन् १९८१ मा स्थापना भएको द क्यानेडियन स्टुडेन्ट फेडेरेसन अफ स्टुडेन्ट क्यानडाको सबैभन्दा ठूलो विधार्थी संगठन हो, जसमा क्यानडाका ९० हजारभन्दा बढी स्‍नातक गर्दै गरेका र गरिसकेका विद्यार्थीहरू क्रियाशील छन्।

क्यानेडियन स्टुडेन्ट अफ युनियन क्यानडाको सबैभन्दा पुरानो विधार्थी संगठन मानिन्छ, जसको स्थापना सन् १९६३ मा भएको थियो। क्यानडामा विश्‍वविद्यालयअनुसारका छुट्टाछुट्टै विधार्थी संगठन छन्, जसले विद्यार्थी राजनीतिको माध्यममार्फत विद्यार्थी मुद्दाहरूका लागि काम गर्छन्।

ओली पक्राउविरुद्ध एमालेको सदनमै कडा प्रतिवाद

काठमाडौं– पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउलाई लिएर एमाले सांसदहरूले प्रतिनिधिसभामा बालेन सरकारको कडा शब्दमा आलोचना गरेका छन् ।

ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरेको दाबी गर्दै उनीहरूले सरकारले मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

प्रजातन्त्र प्राप्तिका लागि भएको २००७ सालको सशस्त्र विद्रोह, पहिलो र दोस्रो जनआन्दोलन हुँदै जेन–जी विद्रोहसम्मको सबै जाँचबुझ आयोगको प्रतिवेदन खोल्न र आन्दोलनको दमनकारीहरुलाई कारबाही गर्न एमाले सांसदहरूले चुनौतीसमेत दिए ।

यस्तो चुनौती दिने सांसदमध्येका एक हुन्– यशोधाकुमारी बराल । उनले शून्य समयमा बोल्दै भनिन्, ‘००७ सालदेखि अहिलेसम्म भएका जनआन्दोलनदेखि जेन–जी आन्दोलनसम्मका सबै फाइल (जाँचबुझ प्रतिवेदन) खोलियोस्, नत्र भने हाम्रा सम्माननीय पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोध साँधेर तपाईंले अभियान सफल नपारियोस् भन्न चाहन्छु । भोलि यो सरकारले धेरै ठूलो क्षति बेहोर्नुपर्छ ।’

एमालेकै सांसद कुलभक्त शाक्यले अध्यक्ष ओली र कांग्रेसका पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी भएको भन्दै पक्राउको प्रतिवाद गरेका छन् ।

सरकारले गैरन्यायिक ढंगबाट हाम्रो पार्टी नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिराखेको छ,’ उनले भने, ‘प्रतिशोधपूर्ण योग गिरफ्तारीको विरोध गर्दै उहाँहरूको अविलम्ब रिहाइको माग गर्दछु ।’

एमालेकै अर्का सांसद कृपाराम रानाले त ओलीविरुद्ध झुटा मुद्दा लगाएर पक्राउ गरेको भन्दै मुद्दा फिर्ता लिन सरकारसँग माग गरे । उनले ओलीको पक्राउ पूर्वाग्रही, प्रतिशोधपूर्ण र गैरकानुनी भएको दाबी गरे ।

शान्तिपूर्ण भइरहेको जेन–जी आन्दोलनलाई ‘हाइज्याक’ गरेर २३ गते घटना गराउने र २४ गते देशै जलाउनेमाथि छानबिन हुनुपर्ने बताए । विद्यालय पोशाकमै आन्दोलनमा बोलाउनेलाई पनि कारबाही हुनुपर्ने उनको माग छ ।

उनले भने, ‘कार्की आयोगले दिएको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र गैरकानुनी भएको र सोको आधारमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको झुटा मुद्दा तत्काल फिर्ता लिन सरकारसँग माग गर्छु । साथै शान्तिपूर्ण भइरहेको जेन–जी आन्दोलनलाई हाइज्याक गरेर २३ गतेको घटना गराउने र २४ गते देशै जलाउने घटनाको छानबिन होस्, कसले स्कुल ड्रेसमा कलिला नानीहरूलाई बोलायो ?’

सांसद गणेश ठगुन्नाले पनि ओलीको फौजदारी कानुनका मान्यताविपरीत एमाले अध्यक्ष ओलीको पक्राउ प्रतिशोधपूर्ण भएको भन्दै उक्त मुद्दा खारेज गर्न माग गरे ।

एमाले उपाध्यक्षसमेत रहेका सांसद गुरुप्रसाद बरालले जेन–जी विद्रोहको छानबिनपछिको कारबाहीमा सुरक्षाकर्मी, राष्ट्रसेवक र ओली–लेखकको हकमा भिन्नभिन्नै गरी तीन खाले मापदण्ड स्वीकार्य नहुने चेतावनी दिए ।

उनले बालेन सरकारको यस्तो पक्षपातपूर्ण कदमप्रति गम्भीर आपत्ति जनाउँदै ओली र लेखकविरुद्धको मुद्दा खारेजीको माग गरे ।

यही १३ चैतमा प्रधानमन्त्री भएका बालेनले केही घण्टापछि नै ‘पक्राउ अभियान’ थालेका थिए । पहिलो निशानामा एमाले अध्यक्ष ओली परे ।

११औँ दिनसम्म आइपुग्दा ओली र उनका दल एमालेका नेता कार्यकर्तासँगै केही प्रभावशाली कांग्रेस नेता र कार्यकर्ताहरू गरी तीन सयको हाराहारीमा पक्राउ परिसके । भ्रष्टाचारी, विचौलिया, गुण्डागर्दीदेखि जेन–जी विद्रोह दबाएको लगायत आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये ‘हाइप्रोफाइल’ नेता एमाले अध्यक्ष ओली हुन्, जो प्रतिकूल स्वास्थ्य अवस्थाका कारण पक्राउ परे पनि अस्पतालमा छन् । चिकित्सकहरूले उनलाई कडा निगरानीमा राखेका छन् ।

सर्वोच्च अदालतले भने ओलीलाई म्याद गरेर हिरासतमा नराख्न परमादेश जारी गरेको छ । तर, ओलीको पक्राउ गैरकानुनी भएको भने अस्वीकार गरेको छ ।

ओली र लेखकको पक्राउ १४ गते बिहानै भएको हो । पक्राउविरुद्ध एमालेले जनसंघर्षको कार्यक्रम घोषणा गरिसकेको छ ।

एमालेले सडक, सदन र अदालत गरी तीनवटै मोर्चाबाट प्रतिवाद गर्ने भनेको छ । ओली र लेखकलाई २३ भदौमा भएको जेन–जी विद्रोहमा हेलचेक्याई गरेको र सोही कारण १९ जना नवयुवा मारिएको गौरीबहादुर कार्की आयोगले ठहर गरेको छ ।

लाओत्से र ताओवाद

भनिन्छ- जीवन, प्रकृति र ब्रह्माण्ड बुझ्न सक्ने एक युगमा एक मात्र व्यक्ति जन्मिन्छ । एक युगमा एकपटक कृष्ण, बुद्व, येशु, मोहम्मद ,महावीर जन्मन्छन् जसले अस्तित्त्वको अनुभूति गर्छन् र संसारलाई आनन्द, शान्तिको सुगन्धले सुगन्धित बनाउने प्रयास गर्छन् । लाओत्से, तीनैमध्येका एक चिनियाँ दार्शनिक हुन्, जसकाे योगदानबारे इतिहासमा विशेषरूपमा उल्लेखनीय छ। 

लाओत्सेका दर्शन आज पनि उत्तिकै सान्दर्भिक छन्। उनले प्रतिपादन गरेको ‘ताओवाद’ दर्शनले प्रकृति र ब्रह्माण्डको स्वाभाविक प्रवाहसँग सामञ्जस्य कायम गर्दै सरल, सन्तुलित र सचेत जीवन जिउन प्रेरित गर्दछ । 

लाओत्से एक दार्शनिक तथा लेखक हुन् । उनलाई ‘ताओ’ दर्शनका पिता मानिन्छ। लाओत्से, जसलाई ‘लाओजी’ पनि भनिन्छ, प्राचीन चीनका महान दार्शनिक तथा ताओवादका संस्थापकका रूपमा परिचित छन्।

लाओत्सेकाे जीवनबारे ऐतिहासिक जानकारी सीमित छ र धेरैजसो विवरणहरू किंवदन्तीहरूले घेरिएका छन्। उनका शिक्षा र दर्शन ‘ताओ ते चिङ’ नामक ग्रन्थमा संकलित छन्, जुन ग्रन्थ चीनका सबैभन्दा प्रभावशाली दार्शनिक ग्रन्थहरू मध्येकाे एक हाे । ‘ताओ’ दर्शनले प्रकृति र ब्रह्माण्डको स्वाभाविक प्रवाहसँग समाहित भई सरल, सहज र सूक्ष्म चेतनासहित जीवन जिउन सिकाउँछ।

लाओत्सेको जन्म प्राचीन चीनको झोऊ राजवंशका समयमा भएको मानिन्छ। उनकाे वास्तविक नाम ‘ली एर’ रहेको बताइन्छ। परम्परागत लोककथाअनुसार उनी आफ्नी आमाको गर्भमा लामो समय (करिब ६२ वर्ष) बसेका थिए र जन्मिँदा वृद्ध व्यक्तिजस्तै देखिन्थे भन्ने किंवदन्ती छ । यसैकारण उनलाई ‘लाओत्से’ अर्थात् ‘महान वृद्ध’ भनिएको हो । उनी झोऊ राजवंशको शाही पुस्तकालयका संरक्षक थिए, जहाँ उनले चिनियाँ संस्कृति, इतिहास र दर्शनको गहिरो अध्ययन गरे, जसले उनको दार्शनिक आधार निर्माण गर्‍यो।

एउटा प्रसिद्ध कथाअनुसार झोऊ साम्राज्यको नैतिक र राजनीतिक पतनबाट निराश भएर लाओत्से त्यहाँबाट प्रस्थान गरे ।  घोडा चढेर पश्चिमतर्फ गएका उनी चीनको सीमामा पुग्दा त्यहाँका अधिकारी यिन ‘सी’ले उनलाई आफ्नो ज्ञान लेखेर मात्र जान आग्रह गरे। त्यसपछि उनले ‘ताओ ते चिङ’ लेखे । ताओ ते चिङ’ ताओ र जीवनका प्राकृतिक नियमहरू संक्षेपमा प्रस्तुत गरेकाे पाइन्छ । ग्रन्थ पूरा गरेपछि उनी सीमा पार गरेर अदृश्य भए ।

चिनियाँ दार्शनिक लाओत्सेले प्रतिपादन गरेको दर्शनलाई ताओवाद भनिन्छ। ‘ताओ’ शब्दको अर्थ ‘मार्ग’ वा ‘प्राकृतिक प्रवाह’ हो। ताओवादले ब्रह्माण्डको प्रवाह वा प्राकृतिक क्रमको पछाडि रहेको शक्तिलाई स्वीकार गर्दछ ।

ताओवादले सबै वस्तुहरूलाई सन्तुलित र व्यवस्थित राख्दछ भन्ने मान्यता राख्छ। ताओवादी दर्शनकाे प्रभाव सुदूरपूर्वी देशहरू चीन, मलेसिया, कोरिया, जापान, भियतनाम र सिंगापुरसम्म छ। यसले पूर्वीय समाजमा भौतिकवादी चिन्तनको विकासमा पनि महत्वपूर्ण योगदान दिएको देखिन्छ।

ताओ दर्शन समकालीन समाजका मानिसहरूको जीवनशैली र व्यवहारमा आधारित छ। परम्परागत रूपमा लाओत्सेले आफ्नो शिक्षालाई ‘ताओ ते चिङ’ ग्रन्थमा प्रस्तुत गरेका थिए, जुन बाँसका कप्टेरोमा लेखिने पुरानो शैलीमा संकलित गरिएको मानिन्छ। यस ग्रन्थमा कुल ८१ श्लोकहरू रहेका छन्। तीमध्ये करिब ३५ श्लोकहरू ताओ मार्गको व्याख्यामा केन्द्रित छन् भने बाँकी श्लोकहरूमा प्रकृतिको स्वभाव, जीवनका नियम र ब्रह्माण्डको संरचनाबारे वर्णन गरिएको छ।

लाओत्सेको दर्शनको केन्द्रमा ‘ताओ’को अवधारणा रहेको छ। ताओ अदृश्य भए पनि सर्वव्यापी छ र सबै वस्तु तथा प्राणीहरूमा विद्यमान हुन्छ। यसले जीवनलाई प्राकृतिक प्रवाहसँग मेल खानेगरी अघि बढाउन प्रेरित गर्दछ। उनले ‘वू-वेई’ अर्थात् ‘अप्रयासपूर्ण कर्म’को सिद्धान्त पनि प्रतिपादन गरे, जसको अर्थ प्रकृतिसँग सामञ्जस्य राख्दै सहज रूपमा कार्य गर्नु हो। उनका अनुसार साँचो ज्ञान बाह्य संसारबाट होइन, भित्री अनुभूति र आत्म वा अन्तरबोधबाट प्राप्त हुन्छ। उनको दार्शनिक मान्यताका अनुसार बाह्य इच्छाहरू, प्रतिस्पर्धा र संघर्षले अशान्ति उत्पन्न गर्छन्।

लाओत्सेको दर्शनमा द्वन्द्वात्मकता स्पष्ट रूपमा देखिन्छ। उनका अनुसार संसारमा सुख-दुःख, दिन-रात, शुभ-अशुभजस्ता विपरीत तत्वहरू सँगसँगै अस्तित्त्वमा रहन्छन्। मानिसहरू प्रायः केवल सुख, राम्रो र उज्यालो मात्र चाहन्छन्, तर लाओत्से भन्छन् कि यस्तो सोच अपूर्ण छ। सुखको वास्तविक अर्थ बुझ्न दुःखको अनुभव आवश्यक हुन्छ। यी विपरीत तत्वहरू एउटै सिक्काका दुई पाटा जस्तै हुन्, जसलाई अलग गर्न सकिँदैन। दिन र रात एकअर्कासँग गाँसिएका छन्,जसरी जीवनका सकारात्मक र नकारात्मक पक्षहरू पनि परस्पर सम्बन्धित छन्।

प्रकृतिको उदाहरणले पनि ताओको अवधारणा स्पष्ट पार्छ। चराहरू आकाशमा उड्छन् जहाँ देखिने कुनै निश्चित मार्ग हुँदैन तर पनि उनीहरू आफ्नो गन्तव्यमा पुग्छन्। यानहरू अन्तरिक्षमा उड्दा पनि बाहिरबाट हेर्दा स्पष्ट मार्ग देखिँदैन तर वास्तविक रूपमा तिनीहरूको आफ्नै मार्ग हुन्छ। हावा र आकाशमा पनि मार्ग हुन्छ, यद्यपि त्यो अदृश्य हुन्छ। यही अदृश्य र प्राकृतिक मार्ग नै ताओ हो।

लाओत्सेको दृष्टिमा ‘जति धेरै हस्तक्षेप गरिन्छ, त्यति नै असन्तुलन बढ्छ।’ त्यसैले कहिलेकाहीँ नगर्नु पनि आवश्यक हुन्छ र कहिलेकाहीँ कार्य गर्नु पनि आवश्यक हुन्छ। यही सन्तुलनको सिद्धान्त द्वन्द्वात्मक सोचसँग नजिक देखिन्छ,जसले प्रकृति,परिवर्तन र विरोधाभासहरूको समन्वयलाई आधार बनाउँछ।

यस्तै, अर्को प्रसङ्गमा लाओत्से र चीनका महान विचारक तथा दार्शनिक कन्फ्युशियसको भेट पनि चिनियाँ परम्परामा उल्लेखनीय मानिन्छ। कन्फ्युशियसले लाओत्सेलाई ‘महान ऋषि’ भनेर सम्मान गरेका थिए भनिन्छ र यस भेटले कन्फ्युशियसका विचारहरूमा पनि प्रभाव पारेको मानिन्छ।

समग्रमा, लाओत्सेको ताओवादले मानव जीवनलाई सरल, स्वाभाविक र सन्तुलित रूपमा जिउन प्रेरित गर्दछ। उनले अत्यधिक महत्वाकांक्षा, बाह्य प्रदर्शन र कृत्रिम प्रतिस्पर्धाबाट टाढा रहन सिकाएका छन्। उनका अनुसार साँचो शान्ति र ज्ञान प्रकृतिसँगको सामञ्जस्य र आत्मबोधबाट प्राप्त हुन्छ। उनका विचारहरू आज पनि विश्वभर प्रेरणादायी छन् र मानव जीवनलाई बुझ्न गहिरो दार्शनिक आधार प्रदान गर्छन्।