`

पृथ्वी वरिपरि लाखौँ उपग्रह : वैज्ञानिकहरू चिन्तित

काठमाडौं। अन्तरिक्ष उद्योगका विज्ञहरूका अनुसार भविष्यमा पृथ्वीको वरिपरि सयौँ हजारदेखि लाखौँसम्म उपग्रहहरू परिक्रमा गर्ने सम्भावना छ।

यो योजनाअनुसार यी उपग्रहहरूले इन्टरनेट सेवा नपुगेका क्षेत्रहरूमा कनेक्टिभिटी उपलब्ध गराउने, कक्षीय कम्प्युटिङ केन्द्रहरूमा डाटा प्रशोधन गर्ने, सौर्य ऊर्जा उत्पादन गर्ने लगायतका काम गर्नेछन्।

तर यो अत्यन्त महत्वाकांक्षी योजनाले वातावरणीय वैज्ञानिकहरूलाई चिन्तित बनाएको छ। अध्ययनहरूले सन् २०२० मा उपग्रहहरूको ठूलो समूह निर्माण हुने युग सुरु भएदेखि उपग्रह प्रक्षेपण र पुनःप्रवेशबाट उत्पन्न हुन सक्ने उच्च वायुमण्डलीय प्रदूषण उल्लेखनीय रूपमा बढेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार सावधानीपूर्वक गरिएको अनुमानअनुसार सन् २०३० सम्म विश्वव्यापी अन्तरिक्ष क्षेत्रले वायुमण्डलमा त्यति नै जलवायु परिवर्तन गर्ने रसायन उत्सर्जन गर्न सक्छ।

लन्डन विश्वविद्यालय कलेजकी वातावरण रसायन तथा वायु गुणस्तर विशेषज्ञ प्रोफेसर एलोइज मारेजका अनुसार, यदि अन्तरिक्ष उद्योगको विस्तार यस्तै गतिमा जारी रह्यो भने माथिल्लो वायुमण्डलमा केन्द्रित यो प्रदूषणले भविष्यमा पृथ्वीको जलवायु प्रणाली नै परिवर्तन गर्न सक्ने सम्भावना छ। 

उनले यसलाई ‘छोटो स्तरको, नियमनविहीन भू-इन्जिनियरिङ प्रयोग’ जस्तै भएको बताएकी छन्। जसका परिणाम गम्भीर र अप्रत्याशित हुन सक्छन्। भू-इन्जिनियरिङ भन्नाले पृथ्वीको तापक्रम घटाउन वा जलवायु नियन्त्रण गर्न वातावरणमा जानाजानी परिवर्तन गर्ने सम्भावित प्रविधिहरूलाई जनाइन्छ। 

यसको एउटा चर्चित विधि भनेको स्ट्राटोस्फेरिक एरोसोल इन्जेक्सन हो। जसमा सूर्यको ताप कम गर्न वायुमण्डलको माथिल्लो तहमा प्रकाश परावर्तित गर्ने कणहरू छोडिन्छ। तर वैज्ञानिकहरूका अनुसार यसका परिणामहरू अनिश्चित हुन्छन्। वर्षा प्रणाली, खडेरी र मौसममा अप्रत्याशित परिवर्तन आउन सक्छ।

मारेज र उनको टोलीले उपग्रहसम्बन्धी प्रदूषणको प्रभाव अध्ययन गरिरहेका छन्। उनीहरूको पछिल्लो अनुसन्धान अनुसार सन् २०२९ सम्ममा ठूलो उपग्रह समूहका प्रक्षेपणबाट हुने प्रदूषणले अन्तरिक्ष उद्योगले उत्पन्न गर्ने कुल प्रदूषणको ४० प्रतिशतभन्दा बढी हिस्सा ओगट्न सक्छ।

यस्ता उपग्रह समूहहरू मुख्यतः दुर्गम क्षेत्रहरूमा इन्टरनेट सेवा पुर्‍याउन प्रयोग गरिन्छन्। यी प्रणालीहरूमा प्रयोग हुने उपग्रहहरूको आयु सामान्यतया करिब पाँच वर्ष मात्र हुन्छ। त्यसपछि तिनीहरू प्रतिस्थापन गरिन्छन्।  यसले बारम्बार प्रक्षेपण र पुनःप्रवेश आवश्यक बनाउँछ। जसले वायुमण्डलको माथिल्लो तहमा प्रदूषण बढाउँछ।

प्रक्षेपणका क्रममा प्रयोग हुने इन्धनले कालो कार्बन उत्पादन गर्छ। जुन माथिल्लो वायुमण्डलमा वर्षौँसम्म रहन सक्छ। वैज्ञानिकहरूको भनाइ अनुसार यस्तो कार्बनले सतहमा उत्पन्न हुने प्रदूषणभन्दा धेरै गुणा बढी तापीय प्रभाव पार्छ।

त्यस्तै,उपग्रहहरू पुनःवायुमण्डलमा प्रवेश गर्दा एल्युमिनियम अक्साइड जस्ता कणहरू उत्पन्न हुन्छन्।  जसले ओजोन तहलाई क्षति पुर्‍याउन सक्छ। अनुसन्धानकर्ताहरूले कम्प्युटर मोडेल प्रयोग गरी यी प्रदूषकहरूले पृथ्वीको जलवायु र ओजोन प्रणालीमा पार्ने सम्भावित असरको मूल्यांकन गरिरहेका छन्।

मारेजका अनुसार मोडेलहरूले स्पष्ट रूपमा देखाउँछन् कि प्रदूषणले ओजोन क्षय र जलवायु परिवर्तनमा कस्तो प्रभाव पार्न सक्छ। तर उनले यो पनि बताएकी छन् कि अहिलेका अनुमानहरू सावधानीपूर्वक न्यून छन्। किनकि वास्तविक उपग्रह वृद्धि अपेक्षाभन्दा छिटो भइरहेको छ।

हाल पृथ्वीको वरिपरि करिब १५ हजारभन्दा बढी सक्रिय उपग्रहहरू परिक्रमा गरिरहेका छन्, जुन सन् २०२० को तुलनामा करिब तीन गुणा बढी हो। यसको प्रमुख कारण एउटा ठूलो उपग्रह नेटवर्क हो।  जसमा मात्र १० हजारभन्दा बढी उपग्रह छन्।

अब अमेजनको अर्को उपग्रह प्रणाली र चीनका विभिन्न उपग्रह परियोजनाहरू पनि तीव्र रूपमा विस्तार भइरहेका छन्। अनुमान अनुसार सन् २०३० सम्म उपग्रहहरूको संख्या १ लाखसम्म पुग्न सक्छ। र भविष्यमा अझ तीव्र वृद्धि हुने सम्भावना छ।

वैज्ञानिकहरूका अनुसार यदि यो विस्तार नियमनविहीन रूपमा जारी रह्यो भने माथिल्लो वायुमण्डलमा जम्मा हुने प्रदूषक कणहरूले दीर्घकालीन रूपमा पृथ्वीको जलवायु प्रणालीमा प्रभाव पार्न सक्छन्।

प्रविधिको विकासले पृथ्वीको वातावरणीय सन्तुलनलाई जोखिममा नपारोस् भनेर वैज्ञानिकहरू अन्तरिक्ष प्रक्षेपण र उपग्रह व्यवस्थापनमा कडा नियमन र थप अनुसन्धान आवश्यक रहेको बताउँछन्।

बालेन प्रधानमन्त्री भएपछि वैदेशिक रोजगारीमा जाने १२ हजार बढे

काठमाडौं । बालेन सरकार गठन भए पनि देशमा रोजगारीको सम्भावना नदेखेर वैशाख महिनामा मात्रै ७४ हजार भन्दा बढी विदेशिएका छन् ।

२१ फागुनमा भएको चुनावअघि देशमै रोजगारीको वातावरण सिर्जना गर्ने बाचा बालेन र रास्वपा सभापति रवि लामिछानेले जनतामाझ गरेका थिए ।

१३ चैतमा बालेन प्रधानमन्त्री भए पनि रोजगारी सिर्जना गर्ने कुनै सुरसार नगरी रोजगार प्रदायक निजी क्षेत्रमाथि प्रहार गर्न थालेपछि युवाहरूको लर्को विदेशतिर देखिएको हो ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैशाखमा ७४ हजार ४ सय २९ जनाले श्रम स्वीकृति (पुनः) लिएका छन् ।

तीमध्ये ६५ हजार १० पुरुष र ९ हजार ४ सय १९ महिला छन् । उक्त अवधिमा ४१ हजार ३ सय २४ जनाले श्रम स्वीकृति लिएका छन् भने ३३ हजार १ सय ५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

बालेन प्रधानमन्त्री भएको महिना चैत २०८२ मा भने ६१ हजार ८ सय १९ जनाले श्रम स्वीकृति (पुनः)लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

चैतको तुलनामा वैशाखमा १२ हजार ६ सय १० जना बढीले वैदेशिक रोजगारीमा गएका हुन् ।

विदेशी महिलालाई गर्भवती बनाएर रास्वपा सांसद कार्की बेपत्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद कृष्णकुमार कार्की सोमबार दिउँसोदेखि एकाएक चर्चाको केन्द्रमा आएका छन् ।

अफ्रिकी मुलुक नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपसम्बन्धी समाचार सार्वजनिक भएपछि मोरङ–२ बाट निर्वाचित कार्कीलाई लिएर राजनीतिक वृत्तमा तरंग पैदा भएको हो ।

कार्कीबारे विवादास्पद समाचार सार्वजनिक हुनुअघि नै उनी तनावमा रहेको संकेत भने प्रतिनिधि सभा बैठकमै देखिएको थियो । सोमबार बिहान संसद् बैठक सुरु हुँदा श्रमसंस्कृति पार्टी का अध्यक्ष हर्कराज राई सहितका सांसदहरूले पहिलोपटक पम्प्लेटसहित रोस्ट्रम घेरेर प्रदर्शन गरेका थिए । संसदभित्रकाे उक्त दृश्यले केहीबेर बैठक तनावग्रस्त बनेको थियो ।

प्रदर्शनप्रति असन्तुष्टि जनाउँदै सभामुख डोलप्रसाद अर्याल ले घुमाउरो शैलीमा कारबाहीको चेतावनी दिएका थिए । त्यसपछि उनले शून्य समयको कार्यसूची अघि बढाएका थिए ।

शून्य समयअन्तर्गत एमालेका समानुपातिक सांसद कृपाराम राना ले बोल्ने अवसर पाए । उनले सुशासनको नारा दिने शक्तिहरूले समेत पीडितलाई न्याय दिन नसकेको टिप्पणी गर्दै कञ्चनपुरको एक घटनाको प्रसंग उठाए । रानाको धारणा सकिएपछि सभामुखले शून्य समयमा बोल्न नाम टिपाएका सांसदहरूको सूचीअनुसार रास्वपाका सांसद कृष्णकुमार कार्कीलाई बोल्न आह्वान गरे ।

सभामुख अर्यालले “माननीय सदस्य कृष्णकुमार कार्की” भन्दै लगातार तीनपटक नाम उच्चारण गरे । तर संसद् बैठक कक्षमा कार्की उपस्थित थिएनन् । उनले बोल्नका लागि पहिले नै नाम टिपाएको भए पनि अन्तिम समयमा संसद्मा अनुपस्थित भएपछि त्यसले थप चासो पैदा गर्‍यो ।

संसद्को प्रचलनअनुसार शून्य वा आकस्मिक समयमा बोल्न सांसदहरूले बैठक सुरु हुनुअघि संसद् सचिवालय वा दलका सचेतकमार्फत नाम दर्ता गराउने गर्छन् । कार्कीले पनि त्यही प्रक्रिया पूरा गरेका थिए । तर सभामुखले तीनपटक बोलाउँदासमेत उनी नआएपछि अर्को सांसदको नाम बोलाएर कार्यसूची अघि बढाइएको थियो ।

कार्की अनुपस्थित भएपछि रास्वपाकै सांसद केपी खनाल ले बोल्ने अवसर पाए । उनले सुदूरपश्चिमको महत्वाकांक्षी आयोजना मानिएको सेती लोकमार्गको विषय उठाएका थिए ।

यता, संसद्मा कार्की अनुपस्थित भइरहेका बेला उनीमाथि लागेको आरोपसम्बन्धी समाचार सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेको थियो । त्यसपछि उनी दिनभर चर्चाको केन्द्रमा रहे ।

कार्की यसअघि पनि विवादित गतिविधिका कारण चर्चामा आएका थिए । गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा नयाँबानेश्वरस्थित संसद् भवनमा आगजनी भएको घटनामा उनको प्रत्यक्ष संलग्नता सार्वजनिक भएको थियो । उनले संसद् भवनमा आगो लगाइएको भिडियो आफैं सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

कार्कीले संसद् भवनको कुर्सी जलाएको र नेताहरूका घरमा भएको आगजनीमा समेत संलग्न रहेको स्वीकारेका थिए । यति विवादित पृष्ठभूमिका बाबजुद रास्वपाले उनलाई मोरङ–२ बाट उम्मेदवार बनाएको थियो ।

प्रतिनिधि सभा निर्वाचनमा कार्कीले ४० हजार ९२४ मत ल्याएर विजय हासिल गरेका थिए । एमालेका दिलीपकुमार बगडिया दोस्रो र नेपाली कांग्रेस का मिनेन्द्र रिजाल तेस्रो स्थानमा सीमित भएका थिए । उनै कार्की विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता भएकाे समाचार साेमबार जनआस्था साप्ताहिकले सार्वजनिक गरेकाे थियाे ।

‌ओलीले दिए विद्या भण्डारीलाई एमालेको सदस्यता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएका छन् । यससँगै भण्डारी अब एमाले राजनीतिमा सक्रिय हुनेछिन् ।

अध्यक्ष ओली विसञ्चो भएको र अर्कोतिर मुद्दाको पनि सामना गरिरहेकाले एमाले नेतृत्व विद्याले सम्हाल्ने चर्चा छ ।

उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेतृत्वबाट ओलीको विस्थापनको पक्षमा उभिएपछि ओलीले विद्यालाई पार्टी सदस्यता दिएर पार्टी नेतृत्वसम्म दिलाउने स्रोतको दाबी छ ।

भण्डारी एमाले पूर्वउपाध्यक्षसमेत हुन् । उनी दुई कार्यकाल राष्ट्रपति पनि भएकी थिइन् ।

भावी प्रधानन्यायाधीशको मुद्दा दर्ता गर्न कर्मचारी थरथर

काठमाडौं । कायममुकामय प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्धका रिट निवेदनहरू दर्ता गर्न कर्मचारी हच्किएका छन् ।

मुख्य रजिस्ट्रार विमल पौडेल, रजिस्ट्रार भद्रकाली मिश्र र मानबहादुर कार्की शर्माविरुद्धका रिट निवेदनहरू कायममुकायम प्रधानन्यायाधीश मल्लको आदेश हुँदा पनि ‘सम्भव नहुने’ संकेत गर्दै अदालतबाट निस्किएका छन् ।

मल्लले सोमबार दिउँसो १ बजेसम्ममा दर्ता गर्न आदेश दिएकी थिइन् । मल्लसँग मुख्य रजिष्ट्रार विमल पौडेल असन्तुष्ट छन्, जसले गर्दा पनि शर्माविरुद्धको निवेदन अघि बढ्न नसकेको हो ।

रोलक्रम मिचिएको र बरिष्ठताक्रमको परम्परा तोडिएको भन्दै असन्तुष्ट न्यायाधीशहरूले ती रिट निवेदनमा केही अस्वभाविक आदेश गर्न सक्ने आशंकाका साथ दर्तामा ढिलाइ भएको हो ।

कर्मचारीहरू अहिले पनि संसदीय सुनुवाइ प्रक्रियालाई नजिकबाट नियालिरहेका छन् ।

 

रास्वपा सांसदहरूले संविधानविपरीत बोले, सभामुख डीपी अर्याल टुलुटुलु

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संविधानविपरीत धारणा राख्दा पनि अन्देखा बनेका छन् ।

उनले रास्वपाका सांसदहरू यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले सोमबार संविधानविपरीत प्रतिनिधि सभा बैठकमा धारणा राख्दा मौन रहे ।

नियमापत्ति जनाउन नमिल्ने विषयमा समय दिँदा दुवैले न्याय निरुपणको सिलसिलामा न्यायाधीशले गरेको न्यायिक कार्यबारे संसदमा प्रश्न उठाएका थिए, जुन संवैधानिक रूपमा वर्जित विषय मानिन्छ । संविधानविपरीत धारणा राख्दा सभामुखले तत्काल रोक्नुपर्ने व्यवस्था रहेको छ ।

संविधानको धारा १०५ मा ‘नेपालको कुनै पनि अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा न्याय निरुपणमा प्रतिकूल असर पार्ने विषयमा तथा न्यायाधीशले कर्तव्य पालनाको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै पनि सदनमा छलफल गरिने छैन,’ भन्ने उल्लेख छ ।

तर, कानुन व्यवसायीसमेत रहेका न्यौपाने र बाँस्कोटाले कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधानको आदेशबारे प्रश्न उठाएका थिए ।

मल्लले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा मनोज शर्मालाई सिफारिस गर्ने निर्णयविरुद्ध रिट दरपिठ भएका निवेदन दर्ता गरी पेसी तोक्न आदेश दिएकी थिइन् ।

सांसदहरूले मल्लप्रति कटाक्ष गर्दै ‘राजनीति गर्ने हो भने कोट खोलेर आउनु’ भन्दै चुनौतीसमेत दिएका थिए ।

न्यायिक निरुपणको प्रक्रियामा रहेका विषयमा संसद्को कुनै पनि सदनमा बोल्न नपाइने संवैधानिक व्यवस्थाविपरीत अभिव्यक्ति दिने दुई सांसदलाई सभामुखले किन नरोकिएको भन्ने प्रश्न अहिले उठिरहेको छ ।

यही विषयमा कानुनका विद्यार्थीसमेत रहेका जेन–जी अगुवा माजिद अन्सारीले कडा टिप्पणी गरेका छन् । उनले यस प्रकरणमा सभामुख डोलप्रसाद अर्यालले पदीय मर्यादा बिर्सिएको भन्दै प्रश्न उठाएका छन् ।

‘माननीयज्यूहरूले संवैधानिक मर्मविपरीत हुने गरी बोलिरहँदा तपाईंले सभामुखको हैसियतले तत्काल रोक्न वा सचेत गराउनुपर्छ कि पर्दैन ?’ माजिदले प्रश्न गरेका छन् ।

उनले थप भनेका छन्, ‘कानुन व्यवसायीकै गरिमा घट्ने गरी कानुन व्यवसायी माननीयहरूले पेशागत मर्यादा संसदभित्र हुँदा पनि बिर्सनु उचित हो त, विद्वान माननीयज्यूहरू ?’

लिग–२: नेपालद्वारा शीर्ष स्थानको स्कटल्यान्ड ६ विकेटले पराजित [तस्वीरहरू]

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले अंकतालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।
जारी शृंखलामा दोस्रो जित हात पारेसँगै नेपाल लिग–२ को अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ। नेपालले उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्यान्डविरुद्ध महत्वपूर्ण जित निकालेको हो।
तस्वीरहरू:

 

‘माइकल’को विश्व बक्सअफिसमा दबदबा, ७० करोड डलरभन्दा बढी कमाइ

एजेन्सी। पप संगीतका सम्राट मानिने माइकल ज्याक्सनमाथि आधारित बायोपिक फिल्म ‘माइकल’ले विश्व बक्सअफिसमा ७० करोड डलरभन्दा बढी कमाउँदै नयाँ उपलब्धि हासिल गरेको छ।

फिल्मले सप्ताहन्तमा ८३ अन्तर्राष्ट्रिय बजारबाट ५ करोड ७७ लाख डलर कमाउँदै अन्तर्राष्ट्रिय बक्सअफिसमा पुनः पहिलो स्थान कब्जा गरेको हो।

युनिभर्सलले अन्तर्राष्ट्रिय बजारमा र लायन्सगेटले अमेरिकी बजारमा वितरण गरेको फिल्म रिलिजको चौथो सातासम्म पनि बलियो व्यापार गरिरहेको छ। हालसम्म फिल्मले विश्वभरबाट ७० करोड ३० लाख डलर कमाइसकेको छ। त्यसमध्ये ४२ करोड १० लाख डलर अन्तर्राष्ट्रिय बजारबाट र २८ करोड २० लाख डलर अमेरिकी बजारबाट आएको हो।

जापानमा प्रदर्शन हुन बाँकी रहेकाले फिल्मले सन् २०१८ को चर्चित सांगीतिक बायोपिक ‘बोहेमियन र्‍याप्सोडी’को ९१ करोड १० लाख डलर कमाइको कीर्तिमानसमेत तोड्न सक्ने अनुमान गरिएको छ।

यता डिज्नीको सिक्वेल फिल्म ‘द डेभिल वेयर्स प्राडा २’ले पनि विश्व बक्सअफिसमा ५५ करोड डलर नजिकको व्यापार गरेको छ। मेरिल स्ट्रिप, एनी हेथवे, एमिली ब्लन्ट र स्ट्यान्ली टुची अभिनित फिल्मले हालसम्म ५४ करोड ६२ लाख डलर कमाइसकेको छ।

रिलिजको तेस्रो सातामा मात्रै फिल्मले विदेशी बजारबाट ५ करोड ६ लाख डलर थप कमाएको हो। उत्तर अमेरिकामा १७ करोड ५९ लाख डलर कमाएको फिल्मले अन्तर्राष्ट्रिय बजारबाट ३७ करोड ३ लाख डलर आम्दानी गरेको छ।

त्यस्तै, वार्नर ब्रदर्सको ‘मोर्टल कम्ब्याट २’ले दोस्रो सप्ताहन्तमा ७९ अन्तर्राष्ट्रिय बजारबाट १ करोड डलर कमाएको छ। दुई सातासम्ममा फिल्मले विश्वभरबाट १० करोड १० लाख डलर कमाइसकेको छ।

अर्कोतर्फ, अमेजन एमजीएमको रहस्यमय कमेडी फिल्म ‘शीप डिटेक्टिभ’ले दोस्रो सप्ताहन्तमा ८८ बजारबाट १ करोड ४० लाख डलर कमाएको छ। ह्यु ज्याकम्यान अभिनित फिल्मले हालसम्म विश्वभरबाट ५ करोड ८७ लाख डलर कमाइसकेको छ।

हान्ताभाइरसको सङ्क्रमण पुष्टि : तीन जनाको मृत्यु

एजेन्सी। क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पब्लिक हेल्थ एजेन्सी अफ क्यानडा) ले ब्रिटिश कोलम्बियामा एक क्रुज यात्रुमा हान्ताभाइरसको पहिलो सङ्क्रमण पुष्टि भएको जनाएको छ । सङ्क्रमित व्यक्ति हाल आइसोलेसनमा राखिएको छ ।

एजेन्सीका अनुसार ब्रिटिश कोलम्बियाबाट संकलित नमूनाहरू विनिपेगस्थित राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो, जहाँ शनिबार एक व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितसँगै यात्रा गरेका अर्का व्यक्तिको परीक्षण नेगेटिभ आएको छ भने उच्च जोखिममा रहेका सम्पर्कहरूलाई आइसोलेसनमा राखेर निगरानी भइरहेको छ ।

एजेन्सीले हालका लागि क्यानडामा आम नागरिकमा सङ्क्रमणको जोखिम कम रहेको स्पष्ट पारेको छ । यो सङ्क्रमण ‘एमभी होन्डियस’ नामक क्रुज जहाजसँग सम्बन्धित यात्रामा देखिएको हो, जससँग जोडिएर हालसम्म तीन जनाको मृत्यु भइसकेको जनाइएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार हान्ताभाइरस संक्रमित मुसा वा अन्य कृन्तक जनावरको पिसाब, दिसा वा र्‍यालसँग सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्दछ । यसको लक्षणमा ज्वरो, टाउको दुखाइ, मांसपेशी दुखाइ तथा गम्भीर अवस्थामा सास फेर्न गाह्रो हुने र फोक्सो-मुटुमा असर पर्ने जोखिम हुन्छ ।

गलत सूचनाप्रति परराष्ट्रले माग्यो माफी,इरानमा पक्राउ परेका अमृत झा अझै थुनामै

काठमाडौं। इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा अझै थुनामै रहेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा झा रिहा भएको भन्दै यसअघि सार्वजनिक भएको सूचना गलत भएको र त्यसले अन्योल तथा असुविधा सिर्जना गरेको भन्दै माफी मागिएको छ।

मन्त्रालयका अनुसार इरानको क़ेश्म आइल्याण्डमा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा झासहित केही व्यक्तिलाई इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो। उनीहरू हाल पुर्पक्षका लागि थुनामा रहेको मन्त्रालयले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘त्यहाँको विषम परिस्थितिबीच नागरिकका विषयमा तत्कालीन जनचासो र सञ्चार माध्यमबाट आएको जानकारी तथा परिवारको अवस्थालाई ध्यानमा राख्दै सोही दिन रिहा भएको अनौपचारिक सूचना प्राप्त भएको भन्दै सार्वजनिक गरिएको थियो।’

तर पछि प्राप्त आधिकारिक जानकारीअनुसार अमृत झा रिहा नभएको र उनको मुद्दामा अदालतले विशेषज्ञ प्रतिवेदन माग गरेको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार विशेषज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने प्रक्रिया चलिरहेको छ। साथै, मुद्दा इरानको स्थानीय अदालतमा विचाराधीन रहेको र त्यहाँकै कानुनअनुसार टुंगो लाग्ने भएकाले निष्पक्ष सुनुवाइ तथा रिहाइका लागि कूटनीतिक पहल जारी रहेको पनि उल्लेख गरिएको छ।

एमाले सचिवालय बैठकमा के–के विषयमा छलफल हुँदैछ ? 

काठमाडौं। नेकपा एमालेको जारी सचिवालय बैठकमा पार्टीलाई अझ सशक्त, जनमुखी र परिणाममुखी बनाउने विषयमा छलफल भइरहेको छ ।

पार्टी सचिव महेश बस्नेतका अनुसार भक्तपुरको गुुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा जारी बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन सुदृढीकरण, जनअपेक्षा अनुरुप सरकारको कामकारबाही र आगामी रणनीतिबारे पनि छलफल भइरहेको छ ।

यसअघि शनिबार नै सचिवालय बैठक बस्ने भनिएको थियो । तर, आकस्मिक रूपमा बैठक सारिएको थियो ।

गाडीमा च्यापिएकी मोरङकी सवित्राको मृत्यु, चालक र सहचालक गम्भीर घाइते

काठमाडौं । तमोर कोरिडोरअन्तर्गत धनकुटाको चौविसे गाउँपालिका–४ मा टाटा विंगर गाडी दुर्घटना हुँदा गाडीमै च्यापिएकी महिलाको मृत्यु भएको छ ।  मृतक ४० वर्षीया सवित्रा ढुंगेल हुन् ।

उनको घर मोरङको सुन्दरहरैचा नगरपालिका–६ कि हो । सोमबार बिहान इटहरीदेखि पाँचथरतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३९४९ नम्वरको टाटा विंगर गाडी अनियन्त्रित भएर पल्टिएको थियो । त्यस क्रममा ढुंगेल गाडीमै च्यापिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरद थापा क्षेत्रीका अनुसार उनको मृत अवस्थामा उद्धार गरिएको हो ।

दुुर्घटनामा सवारी चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का अन्दाजी २८ वर्षीय तेजकुमार चेम्जोङ र सहचालक ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ का २२ वर्षीय दिपेन रसाईली गम्भीर घाइते भएका छन् ।

उनीहरूलाई उचपारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ । उक्त सवारीले २५ सय चल्ला बोकेको थियो ।

‘सिंहदरबारको सानो हिस्सा बनाउन अनुमति दिनुहोस्,हामी श्रमदान गरेर बनाउने छौँ।’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबारको एउटा भवन श्रमदानमार्फत पुनर्निर्माण गर्न आफूहरू तयार रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सिंहदरबारभित्र जलेका भवनमध्ये कुनै एक भवनको सानो हिस्सा आफ्नो पार्टीलाई बनाउन दिन सरकारसँग अनुमति माग गरे।

उनले भने, ‘जेनजी आन्दोलनमा जलेको सिंहदरबार भित्रका भवनमध्ये कुनै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिनुहोस्। हामी श्रमदान गरेर बनाउने छौँ।’

साम्पाङले सरकारलाई संसद्प्रति उत्तरदायी बन्न पनि आग्रह गरेका छन्।

कामु प्रधानन्यायाधीशलाई रास्वपा सांसदले भने – ‘राजनीति गर्ने भए कोट आउनुहोला’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनीहरूले सर्वोच्च अदालत प्रशासन र रिट दर्तासम्बन्धी विषयमा दिइएको आदेशप्रति असन्तुष्टि जनाएका हुन्।

सांसद यज्ञमणि न्यौपानेले अदालतको आदेशको प्रकृति र प्रक्रियामाथि प्रश्न उठाउँदै भने, ‘सर्वोच्च अदालत कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेश भन्ने एउटा आदेश अहिले मिडियामा छरपस्ट आएको छ। यो आदेश इजलास संयुक्त हो कि, एकल हो कि, वा बृहत् इजलास हो कि, या पूर्ण इजलास हो कि, वा संविधानको कुन धाराले गाइड गरेको इजलास हो, यहाँ देखिन्न । अदालतका आफ्ना मर्यादा र सीमा छन्।’

यस्तै, उनले न्यायिक प्रक्रियामा देखिएको अस्पष्टताप्रति असन्तुष्टि जनाउँदै न्यायिक संस्थाको मर्यादामा ध्यान दिनुपर्ने बताए।

यसैगरी, सांसद समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीशको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भनिन्, ‘उहाँले लडाइँ अझै बाँकी छ भन्नुभएको छ, कोसँग लडाइँ बाँकी छ ? उहाँ त न्यायमूर्ति हो।’

उनले थप भनिन्, ‘उहाँले सरकारसँग लडाइँ अझै बाँकी छ भन्नुभएको हो ? राजनीति गर्न मन भए कोट खोलेर आउनुहोला हामी तयार छौँ।’

नेपालको कार्बन व्यापार : चार अर्ब १६ करोड आम्दानी

काठमाडौं। नेपालले कार्बन व्यापारमार्फत चार अर्ब १६ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका अनुसार घरायसी बायोग्यास, सुधारिएको पानीघट्ट, लघु तथा साना जलविद्युत् लगायत आठ वटा आयोजना कार्बन बिक्रीका लागि दर्ता भइसकेका छन्।

सन् २००७ देखि २०२५ सम्मको अवधिमा ती आयोजनाबाट ६६ लाख ८८ हजार टन कार्बन उत्सर्जन न्यूनीकरण भएको प्रमाणित भएको केन्द्रले जनाएको छ। सोही आधारमा नेपालले उक्त रकम आम्दानी गरेको हो।

वातावरण संरक्षण ऐन, २०७६ अनुसार नेपाल सरकारले अन्तर्राष्ट्रिय सन्धिअन्तर्गत स्थापित संयन्त्र तथा विदेशी संस्था र निजी क्षेत्रसँग कार्बन व्यापार गर्न सक्ने व्यवस्था छ।

यसै व्यवस्थाअनुसार नेपालले विगतदेखि नै विभिन्न वैकल्पिक ऊर्जा र वातावरणमैत्री आयोजनामार्फत कार्बन व्यापार गर्दै आएको हो।

नेपालले पहिले क्योटो प्रोटोकलअन्तर्गतको ‘स्वच्छ विकास संयन्त्र’मार्फत कार्बन व्यापार गर्दै आएको थियो। तर सन् २०२३ मा उक्त संयन्त्र बन्द भएपछि अहिले ‘गोल्ड स्ट्यान्डर्ड’ प्रणालीमार्फत आयोजना दर्ता गरिँदै आएको केन्द्रले जनाएको छ।

नयाँ प्रणालीअनुसार दर्ता र प्रमाणीकरण प्रक्रिया ढिलो हुँदा अपेक्षित रूपमा कार्बन आम्दानी विस्तार हुन नसकेको पनि केन्द्रले जनाएको छ।

संसदको नियमावली संघीय कानुन होइन – सांसद लामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वति लामाले प्रतिनिधिसभाको नयाँ नियमावलीमा समावेश नियम २५९ हटाउन माग  गरेकी छन्।

सोमबार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले  यस्तो माग गरेकी हुन् ।

 उनले विशेषाधिकारसम्बन्धी व्यवस्था कानुनी शासनविरुद्ध प्रयोग हुने हतियार बन्न सक्ने भन्दै आपत्ति जनाइन्।

‘नियमावली संघीय कानुन होइन । नियमावली भनेको त संविधान र कानुनअन्तर्गत बनेको अधीनस्थ कार्यविधि व्यवस्था हो,’ उनले भनिन्, ‘यसले आफूलाई कानुनभन्दा माथि वा कानुनसरह स्थापित गर्न सक्दैन ।’

उनका अनुसार नयाँ नियमावलीमा प्रचलित कानुनभन्दा माथि रहने गरी व्यवस्था गरिएको छ। जुन संवैधानिक रूपमा स्वीकार्य हुन नसक्ने हो कि भन्ने प्रश्न उठ्छ।

लामाले भनिन्, ‘के यो व्यवस्था संवैधानिक रूपमा नै स्वीकार्य हुन सक्छ त? विशेषाधिकार कानुनी शासनविरुद्ध प्रयोग हुने हतियार बन्न सक्दैन।’

हर्कले खोजे बालेनलाई, भने-भेट्नु, देख्नु भयो भने सदन पठाइदिनु होला

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रतिनिधि सभा बैठकमै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को खोजी गरेका छन् ।

उनले ठट्यौली शैलीमा प्रधानमन्त्री बालेन भेटिए सदनमा पठाउन भनेका छन् ।

‘संसद भित्रबाटै लेख्दै सूचना, सूचना, सूच्ना…कसैले हाम्रो प्रधानमन्त्रीज्यूलाई भेट्नु, देख्नु भयो भने सदनमा पठाइदिनु होला, धन्यवाद ।’

प्रधानमन्त्री बालेन संसद् बैठकमा सहभागी नभएपछि अध्यक्ष साम्पाङ आक्रोशित बनेका छन् ।

उनले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन बालेन सहभागी भएनन् । तर, यसपछि बालेन विपक्षीहरूको आलोचनाको केन्द्रमा छन् ।

 

बालेन सरकारलाई कांग्रेस सांसद नरेन्द्र केरुङका ६ प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले संसदको नियमावली, विपक्षीको भूमिका र जवाफदेहिताका विषय उठाउँदै बालेन सरकारसँग छ वटा गम्भीर प्रश्‍न गरेका छन् ।

साेमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदको प्रभावकारिता र पारदर्शितासँग सम्बन्धित विषयमा पनि सरकारको स्पष्ट धारणा माग गरे ।

केरुङले पहिलो प्रश्‍न गरे, ‘विपक्षीलाई पर्याप्त स्थान दिइएको छ कि छैन नियमावलीमा ?’

त्यसपछि उनले संसदीय समितिहरूको भूमिकामाथि प्रश्‍न गरे । ‘विषय संसदीय समितिहरूको प्रभावकारिताको विषयमा के-के व्यवस्था गरिएका छन् ? विधेयकसहित अन्य कार्यसूचीहरूमा विभागीय मन्त्रीहरूको अनिवार्य उपस्थितिको व्यवस्था गरिएको छ कि छैन ?’ उनले भने ।

संसदीय अधिकार र जिम्मेवारीबीच सन्तुलन आवश्यक रहेको उल्लेख गर्दै केरुङले अर्को प्रश्न गरे, ‘संसदमा प्रश्‍न गर्ने र विषयवस्तुहरूप्रति संशोधन राख्‍न संसदीय अधिकार र कर्तव्यबीच सन्तुलन कायम गरिएको छ कि छैन ?’

उनले संसदलाई परिणाममुखी र पारदर्शी बनाउने व्यवस्थाबारे पनि सरकारको ध्यानाकर्षण गराए । “संसदमा प्रभावकारिता र पारदर्शितालाई परिणाममुखी बनाउने व्यवस्था कत्तिको छ नियमावलीमा ? उनले प्रश्‍न गरे ।

राष्ट्रपतिको सम्बोधनपछि नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थितिलाई संकेत गर्दै केरुङले अन्तिम प्रश्‍न उठाए ।

‘राष्ट्रपतिको सम्बोधनको क्रममा र त्यसपछि नीति कार्यक्रमको छलफल र जवाफ दिने क्रममा प्रधानमन्त्री खोज्यौँ, त्यस विषयमा नियमावलीमा केही मूल्याङ्‍कन गर्ने विषय समेटिएको छ कि छैन ?’ उनले भने ।

केरुङले संसदलाई थप प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन स्पष्ट र व्यवहारिक व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रधानन्यायाधीश सिफारिसविरुद्धका रिट दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश

काठमाडौं । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले अदालत प्रशासनले रिट निवेदन दर्ता नगरेर न्यायमा पहुँच रोकिएको ठहर गर्दै सबै निवेदन कानुनअनुसार अनिवार्य रूपमा दर्ता गर्न आदेश दिएकी छन् ।

उनले अदालतमा दर्ताका लागि आएका रिट निवेदनहरू प्रक्रियागत कारण देखाएर रोक्नु न्यायप्राप्तिको मौलिक अधिकारमा बाधा पुग्ने कार्य भएको स्पष्ट गर्दै सोमबार दिउँसो १ बजेसम्म सबै निवेदन दर्ता गर्न निर्देशन दिएकी हुन् । साथै, दर्ता हुन बाँकी रहेका सबै रिट निवेदन तथा दरपीठ आदेशविरुद्ध परेका निवेदनलाई समेत तत्काल दर्ता गरी भोलि नै पेशी चढाउन आदेश गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता प्रेमराज सिलवाल र अधिवक्ता गीता थापासहितका कानुन व्यवसायीले दायर गरेका निवेदन र दरपीठविरुद्धको सुनुवाइका क्रममा यो आदेश जारी भएको हो । उनीहरूले अदालत प्रशासनले रिट दर्ता नगरेर न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको भन्दै सुनुवाइको माग गरेका थिए ।

सुनुवाइका क्रममा चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्माको नाम प्रधानन्यायाधीश सिफारिसमा जोडिएको विषयसँग सम्बन्धित रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको तथ्यसमेत सार्वजनिक भएको थियो । त्यसपछि कानुन व्यवसायीहरूले गम्भीर आपत्ति जनाएका थिए ।

आदेशमा अदालत प्रशासनका उच्च अधिकारीहरूले ‘प्रधानन्यायाधीशमा सिफारिस भएकै कारण’ दर्ता प्रक्रिया रोकेको भन्ने आशय देखिएको उल्लेख गर्दै यस्तो व्यवहार न्यायपालिकाको निष्पक्षता, स्वच्छता र स्वतन्त्रतामाथि प्रश्न उठाउने खालको भएको टिप्पणी गरिएको छ ।

कामु प्रधानन्यायाधीश मल्लले कानुनअनुसार दर्ता हुन आएका निवेदनलाई रोकिनु न्याय प्रणालीप्रति जनआस्था कमजोर पार्ने कार्य भएको भन्दै स्पष्ट रूपमा यस्तो अभ्यास रोक्न निर्देशन दिएकी छन् ।

उनले न्याय प्रशासनको प्रभावकारी सञ्चालन र संविधानले प्रत्याभूत गरेको न्यायमा पहुँच सुनिश्चित गर्ने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशकै हुने भएकाले अब कुनै पनि बहानामा रिट दर्ता रोकिन नहुने पनि स्पष्ट पारेकी छन् ।

यस आदेशपछि सर्वोच्च अदालत प्रशासनले अब सबै रोकिएका रिट निवेदन तत्काल प्रक्रिया अघि बढाउनुपर्ने भएको छ ।

प्रधानमन्त्री बालेनलाई एमाले सांसदको प्रश्न – मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा खोई ?

काठमाडौं । नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रवादमाथि प्रश्‍न उठाउँदै विभिन्‍न विषयमा सार्वजनिक जवाफ माग गरेकी छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर हुँदा प्रधानमन्त्री बालेनले प्रयोग गर्ने गरेको ‘ग्रेटर नेपाल’ को नक्साबारे प्रश्न उठाइन् । ‘सम्माननीय प्रधानमन्त्री, मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा खोई ? यहाँ पनि चाहियो भन्ने माग गर्दछु,’ उनले भनिन् ।

उनले जनताले के आधारमा केपी शर्मा ओली भन्दा बालेनलाई बढी राष्ट्रवादी नेता ठानेर समर्थन गरेका हुन् भन्ने प्रश्नसमेत गरिन् । लिपुलेक व्यापारिक मार्गको विषयमा बालेन किन मौन बसेको भन्दै उनले सरकारको धारणा स्पष्ट हुनुपर्ने बताइन् ।

श्रेष्ठले सामाजिक सञ्जालमा समर्थकहरूले लेखेको बचाउपूर्ण टिप्पणीलाई मात्रै आधार बनाएर जनताले विश्वास गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरिन् । ‘फेसबुकमा चिठी हाल्दैमा जनताले पत्याइदिनुपर्ने हो कि ? कि कूटनीतिक पहल पनि भएको छ ?’ भन्दै उनले प्रश्न गरिन् ।

उनले मुस्ताङको युरेनियम खानी कसैलाई दिइएको भन्ने चर्चाबारे पनि सरकारको स्पष्ट धारणा माग गरिन् । ‘आम जनतालाई थाहा पाउनुपर्‍यो,’ उनले भनिन् ।

सगरमाथामा विदेशीलाई राख्ने भन्ने विषय उठेको उल्लेख गर्दै श्रेष्ठले त्यसप्रति जनताले असन्तुष्टि जनाउने चेतावनी दिइन् । ‘यो जनतालाई सह्य हुने छैन,’ उनको भनाइ थियो ।

भ्रष्टाचारविरोधी एजेन्डा बोकेर उदाएको दलका सांसदहरूको सम्पत्तिमाथि समेत प्रश्न उठाउँदै श्रेष्ठले सम्पत्तिको स्रोत र विवरण सार्वजनिक गर्न माग गरिन् ।

‘भ्रष्टाचारको विरोध गरेर उदाएको दलका सांसदहरूको सम्पत्ति कहाँदेखि आयो ? बिल पनि सार्वजनिक गरियोस्,’ उनले भनिन् ।

‘पूर्व गृहमन्त्रीलाई चोख्याउन आयोग नै लागिरहेको आशंका र चर्चा छ’

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्व गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित छानबिन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै कडा टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले आयोगको गतिविधिमाथि निगरानी राख्न सरकारलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्व गृहमन्त्रीको सम्पत्ति उच्च स्तरीय र पारदर्शी छानबिन गरियोस्।’

उनले थपे, ‘संशयको घेरामा रहेका पूर्व गृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागिरहेको जनस्तरमा आशंका र चर्चा छ। कुनैपनि शक्तिशाली पदमा बसेको व्यक्तिले कानुन भन्दा माथि रहने उन्मुक्ति पाउनु हुँदैन । आयोगले कसैले दबाव र प्रभावमा रहेर चोख्याउने काम नगरोस् ।’

उनले कुनै पनि शक्तिशाली व्यक्ति कानुनभन्दा माथि हुन नहुने भन्दै उनले आयोगलाई दबाब र प्रभावबाट टाढा रहन चेतावनीसमेत दिएका छन्।

विद्यार्थी संगठनको अवमूल्यन स्वीकार्य छैन : कांग्रेस सांसद गीता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले रास्वपा सांसद राजीव खत्रीले विद्यार्थी संगठनहरूलाई अराजकता मच्चाउने र गुण्डागर्दी गर्ने समूहको रूपमा गरेको टिप्पणीप्रति गम्भीर असहमति जनाएकी छन् ।

उनले आफूहरू शैक्षिकस्थलमा अराजकता हुन नहुने पक्षमा रहेको भन्दै यदि सांसद खत्रीले भनेजस्तै भए छानबिन गर्न चुनौती दिइन् ।

तर, विकृतिलाई देखाएर विद्यार्थी संगठनहरूको अवमूल्यन गर्न चेतानवी दिएकी छन् ।

‘शैक्षिकस्थलहरूमा अराजकता हुनुहुँदैन भन्ने कुरामा हामी प्रष्ट छौँ । तर, विकृतिलाई देखाएर इतिहासमाथि अवमूल्यन गर्ने काम हामीलाई स्वीकार्य छैन,’ उनले भनिन् ।

उनले रास्वपातर्फ लक्षित गदै सोही दलका नेताहरूमाथि प्रश्नैप्रश्न उठेको भन्दै के उक्त दलको औचित्य छैन भन्न मिल्छ ? भन्दै प्रश्न गरिन् ।

अहिले नेपाली जनताले भोग गरिरहेको स्वतन्त्रता विद्यार्थी संगठनहरूले विगतमा परिवर्तनका लागि भएका आन्दोलनको अग्रभागमा उभिएर बगाएको रगत र वलिदानको उपज भन्दै विद्यार्थी संगठनहरूमाथि गरिएको अवमूल्यन स्वीकार्न नसकिने बताइन् ।

प्रथम छायानाथ अल्ट्रा रेसको उपाधि धीरबहादुर र सुनमायालाई [तस्वीरहरू]

मुगु। मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोट्र्स फाउन्डेसनको सहकार्यमा आयोजित ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’मा पुरुषतर्फ धीरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम भएका छन् । आइतबार बिहान किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको उक्त प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी कुल ५८ जना धावक सहभागी भएका थिए । किम्रीदेखि सुरु भएको दौड छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर समापन भएको थियो ।

पुरुषतर्फको दौडमा धीरबहादुर बुढाले तीन घण्टा ५७ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो भए । साथै दलबहादुर कुँवरले चार घण्टा दुई मिनेट १० सेकेन्ड दौड पूरा गर्दै दोस्रो भए भने तेस्रो भएका चन्द्रबहादुर रावतले चार घण्टा पाँच मिनेटमा दौड पूरा गरे । त्यसैगरी अर्जुन कुलुङ राईले चार घण्टा २४ मिनेट र रमेश लिम्बुले चार घण्टा ३० मिनेट १० सेकेन्ड दौड पूरा गर्दै क्रमशः चौथो र पाँचौ भए ।

महिलातर्फ सुनमाया बुढा पहिलो भइन् । उनले पाँच घण्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गरिन् । दोस्रो भएकी राममाया बुढाले पाँच घण्टा २६ मिनेट ४० सेकेन्ड र तेस्रो भएकी कल्पना बुढाले पाँच घण्टा ३५ मिनेट २० सेकेन्ड दौड पूरा गरिन् । साथै सम्जेदा बुढाले पाँच घण्टा ४० मिनेट १० सेकेन्ड र निर्मला राईले पाँच घण्टा ४८ मिनेट दौड पूरा गरी क्रमशः चौथो र पाँचौ भए ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागीमध्ये २३ जना अन्तर्राष्ट्रिय मापदण्डका खेलाडी थिए । साथै दुई जना एलिट, पाँच जना इन्टरमिडिएट, नौ जना एड्भान्स तथा सात जना एक्सप्लोर वर्गका धावकको सहभागिता थियो ।

अल नेपाल स्पोट्र्स फाउन्डेसनका संजय अधिकारीका अनुसार नेपालका विभिन्न प्रतिष्ठित दौड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका चर्चित धावकहरूको सहभागिताले प्रतियोगिता थप रोमाञ्चक बनेको थियो । एभरेस्ट, मञ्जुश्री, चाँगुनारायण, जुम्ला–रारा तथा रारा ट्रेल रनलगायत देश–विदेशका विभिन्न म्याराथनमा विजयी खेलाडीहरू समेत सहभागी भएका थिए । प्रतियोगिताको प्राविधिक सहयोग नेपाल एड्भेन्चर रनिङ महासंघले गरेको थियो ।

मुख्य अल्ट्रा रेससँगै स्थानीयस्तरमा पाँच किलोमिटर दूरीको ‘फन रन’ पनि सोमबार बिहान सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि अनलाइन तथा अफलाइन दुवै माध्यमबाट दर्ता खुला गरिएको थियो । सोमबार विजेतालाई नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । महिला तथा पुरुषतर्फ प्रथम हुनेले जनही दुई लाख, दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रो हुनेले एक लाख, चौथो हुनेले रु ७५ हजार तथा पाँचौँ हुनेले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी स्थानीय पाँच किलोमिटर ‘फन रन’तर्फ प्रथम हुनेलाई रु ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।

गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले छायाँनाथ क्षेत्रलाई धार्मिक तथा साहसिक खेल पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । यस्ता कार्यक्रमले स्थानीय संस्कृति, प्राकृतिक सम्पदा तथा हिमाली जीवनशैलीलाई विश्वसामु परिचित गराउन मद्दत पुग्ने उनको विश्वास छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले प्रतियोगिताले स्थानीय पर्यटन, होटल व्यवसाय तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए ।

सभामुखको अगाडि उभिएर हर्क साम्पाङसहितले देखाए पर्चा, यस्ता छन् नारा [तस्वीरहरु]

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने माग राख्दै प्रतिनिधि सभा बैठकमा विरोध प्रदर्शन गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ उनीहरूले वेल घेरेर विभिन्न नारा लेखिएका पर्चा प्रदर्शन गरेका थिए ।

पर्चामा ‘प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नैपर्छ’, ‘प्रश्नदेखि भाग्न पाइँदैन’, ‘संसद् छलेर अध्यादेश ल्याउन बन्द गर’, ‘संसदीय जिम्मेवारी बहन गर’ लगायतका नारा उल्लेख थिए ।

यस्तै, ‘डोजर आतंक बन्द गर’, ‘दमन होइन संवाद गर’, ‘गरिबलाई मार्न पाइँदैन’, ‘राज्य आतंक बन्द गर’ जस्ता नारा समेत प्रदर्शन गरिएको थियो ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसदीय मर्यादा कायम गर्न निर्देशन दिएपछि सांसदहरूले उक्त पर्चा शरीरमा टाँसेर आसनमा बसेका थिए । संसद्मा यस्तो दृश्य सामान्यतया कम देखिने गरिएको छ ।

 

सेती लोकमार्ग छिटो निर्माण सम्पन्न गर्न प्रधानमन्त्री बालेनलाई सांसद केपी खनालको माग

काठमाडौं । राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले सेती लोकमार्गलाई छिटो निर्माण सम्पन्न गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग माग गरेका छन् ।

उनले त्यसका लागि सेती लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न पनि माग गरे ।

१६ वर्षमा पनि ५ प्रतिशत मात्रै लोकमार्ग निर्माण भएको भन्दै उनले चिन्ता प्रकट गरे ।

पश्चिम नेपालको जीवनरेखा बन्ने उक्त सडकको निर्माणमा निकै विलम्ब भइरहेको छ । यसप्रति सांसद केपीले बालेन सरकारसँग छिटो निर्माणको माग गरेका हुन् ।

सभामुखको चेतावनी – आकस्मिक समयमा फरक विषयमा नबोल्नु

काठमाडौं। सभामुख डोल प्रसाद अर्याल (डीपी) अर्यालले सांसदहरूलाई आकस्मिक समयमा फरक विषय नबोल्न आग्रह गरेका छन् ।

उनले भने, ‘माननीय सदस्यहरू आकस्मिक समयमा बोल्नका लागि जुन विषयवस्तु यहाँहरूले सभामुखलाई जानकारी गराएर आकस्मिक समय माग्नुभएको हुन्छ । त्यो विषयभन्दा फरक विषयमा बोल्न थाल्नुभयो भने सभामुखले समय नदिनुपर्ने अवस्था आउन सक्छ ।’

प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय मागेका सांसदहरूले आफूलाई जानकारी गराएको भन्दा फरक विषयवस्तु राखेको भन्दै सभामुखले ध्यानाकर्षण गराएका हुन् ।

कार्की आयोग र थापा समितिको जेन-जी घटना प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह कार्कीले कार्की आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गर्न माग गरेका छन् ।

उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नबाट रोकिएकोमा जवाफ माग गरेका छन् ।

दुवै प्रतिवेदन रोकेर जनतालाई झुक्याउने खेल अस्वीकार हुने सरकारलाई चेतावनी दिए ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा सोमबार बोल्दै उनले भने, ‘किन र कसको स्वार्थमा रोकिएको छ ? यो संसदलाई जानकारी गराउनुपर्‍यो ।’

उनले २४ भदौमा नेपाली जनता राज्यविहीनताको स्थितिमा रहनुपरेको स्मरण गर्दै आइन्दा यस्तो कहिल्यै नहोस् भन्ने कामना गरे ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्छ : नेकपा

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले जेठको पहिलो सातामै प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूले प्रश्नोत्तर गर्न पाउनुपर्ने बताएकी छन् ।

प्रतिनिधि सभा कार्यसम्पादन नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने बताएकी हुन्।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले आज जेठ ४ गते भइसकेको र अब लगातार संसद् बैठक बस्ने कार्यसूची रहेकाले प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने अपेक्षा व्यक्त गरिन् ।

सांसद ध्रुव राईले बाँदर मार्नुपर्छ भन्दा सांसद आशिका तामाङको आपत्ति

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बाँदरले किसानलाई दुःख अति नै दिएको भन्दै मार्न पाउनुपर्ने भन्ने अभिव्यक्ति दिएपछि श्रम संस्कृति पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति जनाएकी छन् ।

राईले संसदको आकस्मिक समयमा भनेका थिए, ‘धेरै माननीयहरूले कुरा उठाउनुभयो बाँदर बँदेलहरूले आज जनताहरूलाई दुःख दिइरहेका छन्, यसको नीति कार्यक्रम हामीले कस्तो बनाउँदैछौँ ? यसबारे हामी के लेख्दैछौँ ? किसानलाई दुःख दिने बाँदर मार्न पाउनुपर्छ ।’

लगत्तै रास्वपा सांसद आशिकाले नियमापत्ति जनाउँदै सांसद राईको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गरेकी थिइन् ।

संसदीय टोली सुकुम्बासी होल्डिङ सेन्टरमा पुग्दा के देखियो ? [तस्वीरहरू]

काठमाडौं। संसद्‍को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण गरेका छन्।

सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्य गरी १५ जनाको टोली सोमबार बिहान होल्डिङ सेन्टर पुगेको हो।

टोलीले त्यहाँ बस्दै आएका सुकुम्बासी बस्तीका नागरिकहरुसँग तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ। सरकारले समस्या समाधान छिटो गर्ने वाचा उनीहरुले गरेका छन्।

बालबच्चाको पढाई, दीर्घरोगीहरुलाई उचित व्यवस्थापन र छिटो स्थायी बसोबासको माग उनीहरुल राखेका छन्।

समितिका सभापति ढकालले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था छिट्टै हुने बताएका छन्।

तस्वीरहरू: 

सर्वाधिक छिटो १५० विकेट लिने विश्व रेकर्ड सन्दीपको नाममा

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विश्व एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय ५० विकेट लिने नयाँ रेकर्ड बनाएका छन्।

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत आइतबार स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले यो किर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

सन्दीपले अस्ट्रेलियन मिचेल स्टार्सको नाममा रहेको रेकर्ड तोडेका हुन्।

मिचेलले सन् २०१९ को विश्वकपमा वेस्टइन्डिजविरुद्धको खेलमा ७७ खेलमा १ सय ५० विकेटको रेकर्ड बनाएका थिए।

सन्दीपले ७३ ओडीआईमा ७१ इनिङ्समा १ सय ५० विकेट लिँदै स्टार्सको रेकर्ड तोडेका हुन्।

सन्दीपले स्कटल्याण्डविरूद्ध व्यक्तिगत दोस्रो विकेट लिँदै १ सय ५० विकेटको आँकडा पूरा गरेका हुन्।

सन्दीपले १२ ओभरको तेस्रो बलमा जर्ज मुन्सेलाई पेभेलियनको बाटो देखाएका थिए। २०औँ ओभरको अन्तिम बलमा ७३ रन बनाएका ब्रान्डन मकमलेनलाई इशान पाण्डेद्वारा क्याच आउट गराउँदै उनले १ सय ५० विकेटको कीर्तिमान कायम गरे।

एकदिवसीय क्रिकेटमा सन्दीपको उत्कृष्ट बलिङ फिगर सन् २०२१ को लिग टुमा पीएनजीविरुद्ध ११ रन दिएर ६ विकेट लिनु हो। एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय विकेट लिने रेकर्ड पनि सन्दीपकै नाममा छ।

उनले ४२ खेलमा १ सय विकेटको रेकर्ड कायम गरेका हुन्। यस्तै एकदीवसीय क्रिकेटमा लगातार ३ खेलमा ४ विकेट लिने रेकर्ड पनि उनकै नाममा छ।

सभामुखको अगाडि उभिएर हर्क साम्पाङसहितले देखाए पर्चा

काठमाडौं । संसद् बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेर पर्चा देखाउँदै विरोध गरेका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरुले प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै वेल घेराउ गर्दै सभामुखलाई पर्चा देखाउँदै विरोध गरेका थिए ।

यसप्रति सभामुख डीपी अर्यालले गम्भीर आपत्ती जनाउँदै विरोधको यस्तो शैली आगामी दिनमा नअपनाउने निर्देशन दिए ।

श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिन नआएपछि आलोचना गर्दै आएको छ ।

धनकुटाको नावाखोला क्षेत्रमा सवारी दुर्घटना, पाँचथरका चालकसहित तीन गम्भीर घाइते

काठमाडौं । तमोर कोरिडोर सडकअन्तर्गत धनकुटाको नावाखोला क्षेत्रमा सवारी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।

धनुकटाको प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रका अनुसार घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा उद्धार टोली खटिएको छ ।

धरानबाट पाँचथरतर्फ जाँदै गरेको प्रदेश–१–०१– ००१ ज ३९४९ यात्रुवाहक मिनि बस (विंगर) दुर्घटनामा परेको हो ।

दुर्घटना हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर–१ का २८ वर्षीय चालक तेजबहादुर चेम्जोङसहित अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

दुवैको पहिचान खुल्न बाँकी रहेको एसपी थापा क्षेत्रीले बताए । गम्भीर घाइतेमध्येकी एक जना महिला बसमै च्यापिएको अवस्थामा छिन् ।

उनको उद्धार कार्य भइरहेको छ । उनको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

जबजको राजमार्ग र जनयुद्धको सुरुङ टुंगो लगाएर मात्रै एकता : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टीका पूर्वमहासचिव मदन भण्डारीप्रति पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाले स्मरणसम्म नगरेको बताएका छन् ।

भण्डारीको स्मृति दिवसको भोलिपल्ट सोमबार उनले भने, ‘नेकपाले नेपाली राजनीतिको सर्वाधिक लोकप्रिय र युगान्तकारी व्यक्तित्व मदन भण्डारीबारे दुई शब्द खर्च गरेन छ ।’

मदनलाई नेकपाले स्मरणसम्म नगरेको भन्दै असन्तुष्ट देखिएका बाँस्कोटाले एमाले र नेकपाबीच हुने भनिएको एकताबारे प्रश्न उठाएका छन् ।

उनले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) र जनयुद्धप्रतिको आत्मस्वीकार्यता बिना एकता असम्भव हुने संकेत गरेका छन् ।

उनले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘जबजको राजमार्ग र जनयुद्धको सुरुङको टुंगो बिना वाम एकताको ‘ए’ नै कोल्याप्स हानेँ मैले ल ।’

३ जेठ २०७५ मा एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच एकता भएको थियो । त्यसको अघिल्लो वर्ष वाम गठबन्धन गरेर चुनावमा गएका यी दुई दलले अभूतपूर्व जनमत प्राप्त गरेपछि पार्टी एकता नै गरेका थिए ।

त्यसबेला पार्टीको सैद्धान्तिक, वैचारिक र कार्यनीतिक पक्षमा घनिभूत बहस गरेर टुंगो नलगाई दुई पार्टी संगठनको अप्राकृतिक ढंगको एकता मात्रै थियो, जुन सर्वोच्च अदालतले नेकपाको नामसम्बन्धी विवादमा एक कदम अगाडि सरेर गरेको फैसलाले एकता भंग भयो ।

पूर्ववत् एमाले र माओवादी केन्द्रकै हैसियतमा दुवै दल पुगे । अब फेरि एकताको गाइँगुइँ चर्चा चुलिएको छ ।

यस्तो अवस्थामा एमालेका पूर्वमहासचिव भण्डारीप्रति श्रद्धा सुमनको २ शब्द नखर्चिने नेकपासँग एकता यही अवस्थामा नहुने धारणा एमाले नेता बाँस्कोटाले राखेका हुन् ।

रामकृष्ण ब्लोनको अध्यक्षतामा बन्यो तामाङ घेदुङको नयाँ कार्यसमिति

काठमाडौं । आदिवासी तामाङ जातिको सामाजिक संस्था नेपाल तामाङ घेदुङको अध्यक्षमा रामकृष्ण ब्लोन निर्वाचित भएका छन् ।

कांग्रेसनिकट उनले अध्यक्षका अन्य प्रत्याशी कुमारसिंह घिसिङ, मित्रसेन योञ्जन, अमिर लामा मोक्तान र मानबहादुर तामाङलाई पराजित गरे ।

निर्वाचित ब्लोनले ३०६ मत पाए । निकटतम प्रतिद्वन्द्वी घिसिङ भए । उनले ९८ मत पाउँदा योञ्जनले ५९, मोक्तानले ३२ र तामाङले २७ मत पाए । निकटतम प्रतिद्वन्द्वी भएका घिसिङ नेकपा समर्थित हुन् । योञ्जन कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका नेता हुन् ।

सहअध्यक्ष सरोजमोहन लामा निर्विरोध भए । वरिष्ठ उपाध्यक्षमा नेकपा निकट सञ्चु ब्लोन निर्वाचित भइन् । उनले ३६० मत प्राप्त गर्दै हरिजंग तामाङलाई पराजित गरिन् । हरिजंगले १३२ मत पाए ।

दुई महिलासहित ७ उपाध्यक्षमा काजिमान थिङ, दिनेशकुमार लो, पासाङदोर्जे लामा, प्रेम लो तामाङ, रुपबहादुर योञ्जन, दिना लामा र बिना मम्बा तामाङ निर्वाचित भए ।

महासचिवमा लिलाकुमार घलान, उपमहासचिवमा निर्मलबहादुर तामाङ, बिलाम मुक्तान र महिला उपमहासचिव श्रमिक लामा निर्विरोध निर्वाचित भइन् ।

सचिव पदमा सुनिल मोक्तान २५१ मत, सुन्दर थोकर तामाङ १९९ मत तथा हिरालाल तामाङ १९४ मतसहित विजयी भएका छन् । सचिव (महिला) तर्फ उषा वाइबा ३२७ मत र संगीता तामाङ पाख्रिन २७८ मतसहित निर्वाचित भए ।

कोषाध्यक्ष पदमा तीर्थमान बल तथा सहकोषाध्यक्ष पदमा सीता चोदेन तामाङ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्य

कोशीबाट अर्जुन तामाङ, इन्द्रकुमार योन्जन तामाङ, दलमान तामाङ, पेम्बा गोले तामाङ, प्रदीप लामा तामाङ, मीनबहादुर तामाङ, रामबहादुर वाइबा तथा रामप्रसाद ग्याबा तामाङ निर्वाचित भएका छन् । महिलातर्फ पेमाकुमारी लामा निर्विरोध निर्वाचित भइन् ।

मधेश प्रदेशबाट अमराज लामा, चन्द्रबहादुर मुक्तान, पूर्णबहादुर मोक्तान, राजकुमार घिसिङ तथा रामबहादुर घलान निर्वाचित भए । महिलातर्फ बिना घिसिङ र राम्रीमाया तामाङ निर्विरोध निर्वाचित भइन् ।

बागमती प्रदेशको १४ खुल्ला सदस्य पदका लागि २० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । कडा प्रतिस्पर्धाबीच फुर्साङ मोक्तान तामाङ, कान्छा तामाङ, गोपीराज घलान, फुर्वाग्याल्बो मोक्तान, रोजबहादुर मोक्तान, फुर्पु तेन्जेन तामाङ, चक्रबहादुर पाख्रिन, उदय लामा, रक्षेबहादुर घलान

तामाङ, विजयकुमार तामाङ, समीर लामा, सूर्य घिसिङ तामाङ तथा सूर्यबहादुर तामाङ निर्वाचित भए ।

बागमती प्रदेशकै महिलातर्फ उर्मिला स्याङ्तान तामाङ, ठुलीमाया मोक्तान, तिरुमाया तामाङ, निर्मला तामाङ, मिक्साङ लामा तथा लक्ष्मी जिम्बा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएयो ।

गण्डकी प्रदेशबाट खुल्लातर्फ जसपाल पाख्रिन, वीरसुब्बा तामाङ तथा भक्तबहादुर तामाङ निर्वाचित भए भने महिलातर्फ आशा बम्जन र जुना तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।

निर्वाचन आयुक्त कुमार ब्लोनका अनुसार लुम्बिनी र कर्णाली प्रदेशबाट कुनै पनि पदमा उम्मेदवारी परेको थिएन ।

सुदूरपश्चिम प्रदेशबाट केशवकुमार लामा निर्विरोध निर्वाचित हुँदा प्रवास शाखा तथा आबद्ध शाखाबाट ज्ञानबहादुर तामाङ निर्वाचित भए ।

आबद्ध संस्थाको महिला खुल्लातर्फ छोइसल घलान, लक्ष्मीमाया वाइबा, शर्मिला लामा, शान्ताकुमारी तामाङ, शान्ती दोङ तामाङ, सफलता तामाङ तथा सुशीला वाइबा तामाङ निर्विरोध निर्वाचित भए ।

निर्वाचित सबैले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । घेदुङ २०१३ सालमा स्थापित तामाङ जातिको सामाजिक संस्था हो । तामाङ भाषा, लिपि, धर्म, संस्कृतिको संरक्षणसँगै उक्त समुदायको राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा समेत घेदुङ क्रियाशील छ ।

सन्तवीर पाख्रीन संस्थापक अध्यक्ष रहेको संस्थाको दसौँ महाधिवेशन यही जेठको १, २ र ३ गते काठमाडौंको स्वयम्भूमा भएको हो । महाधिवेशनमा पूर्णता दलीय हस्तक्षेप देखिएको थियो ।

मूलतः कांग्रेस, एमाले र नेकपाले भागबण्डा गरे अनुसार नै घेदुङको नयाँ कार्यसमिति निर्वाचित भएको हो । दलीयकरणको चङ्गुलमा फसेपछि घेदुङ तामाङ समुदायको विश्वास क्षयीकृत संस्था बन्दै गएको छ ।

ताम्सालिङ राज्य प्राप्तिको आन्दोलन कोमामा पुगेको छ । आन्दोलनमा सिंगो तामाङ समुदायलाई सूत्रबद्ध गर्न घेदुङ चुकेको छ । यस्तोमा तामाङ जेन–जीहरूले १४ बुँदे अडानपत्र सार्वजनिक गर्दै घेदुङमा दलीयकरणको अन्त्य हुनुपर्ने मुख्य माग अघि सारेका थिए ।

तर, यो मागको बेवास्ता गर्दै पूरापूर दलीय हस्तक्षेपमा घेदुङको नयाँ कार्यसमिति निर्वाचित भयो । ब्लोन नेतृत्वको नयाँ कार्यसमितिलाई समुदायको विश्वास आर्जन गर्न चुनौती हुने देखिएको छ ।

रविलाई निलम्बनबाट जोगाउन बालेन सरकारको दुई झेल खेल

काठमाडौं । सहकारी ठगीमा मिलापत्र हुन सक्ने कानुनी प्रावधान छ । सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा कैद भुक्तान गर्नुपर्नेगरिका हुन् । यी तीनवटै मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने झेलिरहेका छन् ।

जेन–जी विद्रोहपछि गठित चुनावी सरकारदेखि हालको बालेन सरकारसम्मले मुद्दाको खापैखाप परेका लामिछानेलाई उन्मुक्ति दिन शृङ्खलाबद्ध रूपमा कानुनको धज्जी उडाउने कदम चालेका छन् । यसले शक्तिशाली आरोपीलाई उन्मुक्ति दिने प्रपञ्च दुई सरकारले रचेको देखिन्छ ।

पहिलो, यतिबेला रास्वपाका वरिष्ठ नेता वालेन्द्र प्रधानमन्त्री छँदा उनकै दलको प्रतिनिधि सभामा स्पष्ट बहुमत छ र त्यहाँबाट रविलाई सम्पत्ति शुद्धीकरण मुद्दामा निलम्बन हुनबाट जोगाउन प्रतिनिधि सभा नियमावलीमा संविधान मिच्नेगरी संशोधन गरिएको छ ।

संशोधनको मस्यौदा आज प्रतिनिधि सभा बैठकमा पेश हुँदैछ । बिहान ११ बजे बस्ने संसद् बैठकको सम्भावित कार्यसूचीमा रास्वपा संसदीय दलका उपनेता तथा नियमावली मस्यौदा समिति सभापति गणेश पराजुलीले मस्यौदा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसदका प्रवक्ता एकराम गिरीले बताए ।

जहाँ संशोधित नियमावलीको नियम २५९ ले प्रतिनिधि सभा नियमावलीलाई ‘विशेष कानुन’को दर्जा दिएको छ । अर्थात् सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा रवि लामिछाने निलम्बित हुने भए संशोधित प्रतिनिधि सभा नियमावलीले निलम्बनमा पर्नबाट जोगाउने छ ।

रास्वपाबाटै उम्मेदवार भएर निर्वाचित भएका डीपी अर्याल सभामुख भएको र उनलाई निर्णित अधिकारीको रूपमा राख्दै निलम्बनसम्बन्धी निर्णय दिने सभामुखले भनिएको छ ।

यस सम्बन्धी नियम २६० मा उल्लेख छ । संवैधानिक कानुनका जानकार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार नियमावलीको नियम २६१ ले त शक्ति पृथकीकरणको सिद्धान्त र नियन्त्रण र सन्तुलनको सिद्धान्तअनुसार संविधानले निश्चित गरेको स्वतन्त्र न्यायपालिकाको अधिकार क्षेत्र हस्तक्षेप गर्छ, जहाँ यस सम्बन्धी विवाद अदालतमा उठाउन नपाइने उल्लेख छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बले रास्वपा सभापति लामिछानेलाई लक्षित गर्दै भनेका छन्, ‘नियमावलीको २५९ सत्तारुढ दलकै कुनै नेतालाई जोगाउन संशोधन गरेको देखिन्छ । हामीलाई यो स्वीकार्य छैन । हामी संशोधन प्रस्ताव हाल्छौँ ।’

नियमावलीको २५९ सिधासिधी रविलाई सम्पत्ति शुद्धीकरण मुद्दामा निलम्बनमा पर्ने जोखिमबाट टार्नेगरी संशोधन गरिएको हो । सबै विपक्षी दलहरूले नियमावलीको यो प्रावधानमा गम्भीर असहमति प्रकट गरेका छन् ।

दोस्रो, रविविरुद्धको दुई मुद्दा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगपत्र संशोधन गर्न सुशीला कार्की सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले भरमग्दुर प्रयास गरिन् ।

रविका मुद्दा रहेको काठमाडौं, कास्की, रुपन्देही र पर्सामा सरकारी वकिल कार्यालयलाई मुद्दा फिर्ता लिनेगरी अभियोगपत्र संशोधनको निवेदन जिल्ला अदालतमा पेस गर्न निर्देशन दिइन् ।

धन्न जिल्ला अदालतहरूले सर्वोच्च अदालतमै पनि विचाराधीन रविको मुद्दा नटुंगिञ्जेल निवेदन दर्ता गर्न दरपिठ गरे । तर, उच्च अदालत, पोखराले बिहीबार रविविरुद्धको मुद्दा संशोधनको निवेदन सुनुवाइ गर्न नरोक्नू भनेर आदेश दियो । न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द र मेरिना श्रेष्ठको इजलासले जिल्ला अदालत कास्कीको आदेश उल्ट्याएको हो ।

उच्च अदालतको आदेशसँगै अब जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा संशोधनका लागि पेश गरेको निवेदनमाथि सुनुवाई गर्ने बाटो खुल्नेछ । निवेदन स्वीकृत भयो भने लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता हुनेछ ।

लामिछाने दुई गम्भीर आरोपबाट दोषमुक्त हुनेछन् । जबकि, उनीसहित जीबी राई, छविलाल जोशीलगायत विभिन्न भूमिकामा रहेर गोर्खा मिडिया नेटवर्कमा आबद्ध रहेर देशका विभिन्न सहकारीबाट कानुनविपरीत सर्वसाधारणको अर्बौँ बचत ल्याएर अपचलन गरेका थिए ।

जीबी अध्यक्ष, छवि उपाध्यक्ष र रवि उक्त कम्पनीका प्रबन्ध निर्देशक थिए, जसले एक व्यक्तिले भन्दा पनि संगठित रुपमा गरिएको सहकारी ठगी हुनाले ओली सरकारको पालााम संगठित अपराध नै भएको त्यस सम्बन्धी आरोपपत्र अदालत पुगेको छ ।

अर्कोतिर, रविले काठमाडौं, चितवन, कास्की, रुपन्देही र पर्सा अदालतमा गरी तीन करोड बढी धरौटी बुझाएका छन् । उनका श्रीमती निकिता पौडेल पनि एक सहकारीको करोडौँ हिनामिना प्रकरणमा मुछिएकी छन् ।

केही वर्ष अमेरिकामा काम गरेको र नेपालमा टेलिभिजन टक सो चलाएका रविको यति बिघ्न सम्पत्ति कसरी भयो ? यस सम्बन्धी ओली सरकारको पालामा रविमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चल्यो ।

तर, जेन–जी विद्रोहपछि गठित सुशीला कार्की नेतृत्वको चुनावी सरकार होस् या वर्तमान बालेन सरकार, दुवैले रविलाई दुई गम्भीर अभियोगबाट जोगाउने कसरत गरेका छन् ।

संसद् नियमावली विवाद : ‘रविलाई जोगाउने खेल’ भन्दै विपक्षी आक्रामक

काठमाडौं । विवादित प्रतिनिधि सभा नियमावली २०८३ को मस्यौदा सोमबार संसद् बैठकमा प्रस्तुत गरिँदैछ ।

११ बजे बस्ने संसद् बैठकको सम्भावित कार्यसूचीमा मस्यौदा समिति सभापति तथा रास्वपा संसदीय दलका नेता गणेश पराजुलीले मस्यौदा प्रस्ताव पेस गर्ने छन् ।

सम्पत्ति शुद्धीकरण मुद्दाका विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई निलम्बन हुनबाट जोगाउने उद्देश्यले संशोधन गरिएको आरोप लागिरहेको प्रतिनिधिसभा नियमावली २०८३ को विवादित मस्यौदा सदनमा प्रस्तुत भएपछि त्यसउपर छलफल हुने संसदका प्रवक्ता एकराम गिरीले बताए ।

तर, नियमावली संसदमा प्रवेश गर्नुअघि नै त्यसका केही प्रावधानलाई लिएर विपक्षी दलहरूले विरोध गरिरहेका छन् ।

विशेषगरी नियमावलीको नियम २५९, २६० र २६१ माथि विपक्षी दलहरूले गम्भीर संवैधानिक प्रश्न उठाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले नियमावलीका ती प्रावधान संविधानको मर्मविपरीत रहेको आरोप लगाएका छन् ।

विपक्षीहरूको मुख्य आपत्ति नियम २५९ मा छ । उक्त नियममा “प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानुनको रूपमा रही विशेष कानुनसरह लागू हुने” व्यवस्था प्रस्ताव गरिएको छ ।

विपक्षी दलहरूको दाबी छ- यो व्यवस्थाले प्रतिनिधिसभा नियमावलीलाई नै विशेष कानुनसरह हैसियत दिन खोजेको छ, जसले सांसदमाथि लागू हुने अन्य कानुनलाई निष्प्रभावी बनाउन सक्ने खतरा पैदा गर्छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले प्रतिनिधिसभा नियमावलीको संशोधित मस्यौदामाथि कडा टिप्पणी गरेका छन् ।

उनले संविधानको धारा १०३ ९६० उद्धृत गर्दै संसद् सदस्यलाई सीमित संरक्षण भए पनि फौजदारी अभियोगमा कानुनी कारबाहीबाट उन्मुक्ति नदिइएको स्पष्ट पारे ।

उनले भने, ‘नेपालको संविधानले संघीय संसदलाई मर्यादित, उत्तरदायी र कानुनको शासनअन्तर्गत सञ्चालन हुने संस्था मानेको छ । संविधानको धारा १०३ ९६० ले संसद् सदस्यको स्वतन्त्रता सुनिश्चित गर्न केही संरक्षण दिएको भए पनि त्यसले फौजदारी अभियोग लागेका सांसदलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिएको छैन ।’

आङ्देम्बेका अनुसार संविधानमै ‘कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा र्पुयाएको मानिने छैन’ भनेर स्पष्ट उल्लेख गरिएको छ । त्यसैले सांसद पनि कानुनभन्दा माथि नहुने संवैधानिक मर्म स्थापित भएको उनको भनाइ छ ।

तर संशोधित नियमावलीको नियम २५९ ले यही संवैधानिक सिद्धान्तलाई कमजोर बनाउने प्रयास गरेको कांग्रेसको आरोप छ ।

आङ्देम्बेले भने, ‘नियमावली मुलतः संसद्को कार्य सञ्चालनका लागि बनाइने अधीनस्थ कानुनी दस्तावेज हो । यसले संविधान वा संसद्ले बनाएको प्रचलित कानुनभन्दा माथि रहने अधिकार पाउँदैन ।’

उनले यस्तो व्यवस्था ल्याउनुको उद्देश्य सम्पत्ति शुद्धीकरणजस्तो गम्भीर फौजदारी अभियोग खेपिरहेका सांसदहरूको पद निलम्बन रोक्नु हुन सक्ने संकेत गरे ।

नेकपाले पनि विवादास्पद प्रावधान तत्काल हटाउन माग गरेको छ । नेकपाका प्रमुख सचेतक युवराज दुलाल ले संसद्को गरिमा सांसदलाई कानुनभन्दा माथि राखेर जोगिन नसक्ने बताएका छन् ।

उनले भने, ‘संसद्को गरिमा सांसदलाई कानुनभन्दा माथि राखेर होइन, सबैलाई कानुनको दायरामा समान रूपमा ल्याएर मात्रै जोगिन सक्छ ।’

दुलालले प्रतिनिधिसभा नियमावली संविधानभन्दा माथि हुन नसक्ने पनि स्पष्ट पारे ।

गत ८ वैशाखमा प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको थियो । नियमावली संशोधन गर्न गठित १५ सदस्यीय समितिले सभामुख डिपी अर्याल लाई मस्यौदा बुझाइसकेको छ ।

संसद्को कार्य सञ्चालनलाई थप व्यवस्थित, समसामयिक र प्रभावकारी बनाउने उद्देश्यले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै ६ दलको सहभागितामा समिति गठन गरिएको थियो ।

‘डिजिटल स्पेस : महिला हिंसा र राज्यको दायित्व’

‘फेक आइडी बनाएर र कृत्रिम बुद्धिमत्ताको प्रयोग गरेर मेरो निर्वस्त्र फोटो फेसबुकमा पोस्ट गरिएको हुन्छ। ‘यसलाई बलात्कार गरेर झाडीमा फालिदिनुपर्छ’ भनेर लेखिएको हुन्छ। मलाई यसले सुरुमा निकै गाह्रो भयो,’ अमिशा पराजुलीले भन्दै थिइन्।

‘सात वर्षदेखि काम गरिरहेका चार जना नेपाल प्रहरीका कर्मचारीले मलाई ‘माल’ भनेर सम्बोधन गरेका छन्,’ जेनजी अभियन्ता सरिष्मा थापाको अनुभव हो यो।

अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष ममता अधिकारी भन्छिन्, ‘स्वागत मन्तव्यका लागि मात्रै बोलाउने, ब्याज वितरण गर्न लगाउने, नाच्न लगाउनेजस्ता कार्य अझै पनि हाम्रा राजनीतिक पार्टीभित्र छन्। यो पनि एक प्रकारको हिंसा हो।’

अखिल क्रान्तिकारीकी कोषाध्यक्ष कमला परियारको अनुभव छुट्टै छ। उनका अनुसार मिडिया पनि डिजिटल हिंसा बढ्नुको एक प्रमुख हिस्सेदार हो। ‘डिजिटल स्पेसमा महिलाका राम्रा काम राखिँदैनन्, विवादित कुरा, कपडा कस्तो छ, हिल कस्तो छ भन्ने आधारमा मिडियाले स्पेस दिन्छ,’ उनले भनिन्।

आइतबार पाटनढोकास्थित यलमायामा ‘डिजिटल स्पेस : महिला हिंसा र राज्यको दायित्व’ नामक छलफल कार्यक्रम आयोजना भयो। कार्यक्रम डिजिटल माध्यमबाट महिला हिंसा कसरी बढिरहेको छ भन्ने विषयमा केन्द्रित थियो। अमिशा पराजुली, सरिष्मा थापा, कमला परियार, ममता अधिकारी र माजिद अन्सारी कार्यक्रमका वक्ता थिए।

यी सबै युवाहरू हुन्, जसले आफ्नो अभिव्यक्ति स्वतन्त्रता प्रयोग गरेकै कारण डिजिटल हिंसाको सिकार बन्नुपरेको छ। उनीहरू मात्रै होइन, पछिल्लो समय डिजिटल स्पेसबाट सिलसिलेवार अपराध भइरहेका छन्। अझ भनौँ, डिजिटल स्पेस जति बढ्दै गएको छ, साइबर अपराध पनि त्यति नै बढ्दै गएको छ। तर कानुनी तवरले नेपालमा साइबर अपराधका आरोपमा कारबाहीको प्रक्रिया भने एकदम फितलो छ।

यो पनि…….

सामाजिक सञ्जाल दर्ता नहुँदा सरकारलाई पर्यो गारो, गाली नगर्न अनुरोध

डिजिटल हिंसा, साइबर बुलिङ र अनलाइन दुर्व्यवहार बढ्दै गएको भन्दै युवाहरुले राज्य, समाज र मिडियाको भूमिकामाथि गम्भीर प्रश्न उठाए । उनीहरूका अनुसार डिजिटल हिंसा केवल महिलासँग सम्बन्धित विषय नभई समग्र समाजको चेतना, पितृसत्तात्मक सोच र हिंसालाई सामान्यीकरण गर्ने संस्कारसँग जोडिएको समस्या हो।  ‘सामाजिक सञ्जालमा अभिव्यक्ति राख्ने महिलामाथि गालीगलौज, यौनजन्य टिप्पणी, बलात्कारको धम्की र चरित्रहत्या सामान्य बन्दै गएको छ’, उनीहरु बताउछन्। 

उनीहरूले मिडियाले सन्दर्भविहीन र सनसनीपूर्ण सामग्रीलाई प्राथमिकता दिँदा डिजिटल स्पेस झन् विषाक्त बनेको आरोप लगाए। लामो अभिव्यक्तिलाई छोट्याएर प्रस्तुत गर्ने, विवादित शीर्षक बनाउने र महिलाका कामभन्दा उनीहरूको पहिरन वा व्यक्तिगत पक्षलाई बढी प्रचार गर्ने प्रवृत्तिले हिंसा बढाएको उनीहरूको तर्क छ। 

‘एआई र डीपफेक प्रविधिको दुरुपयोगले पनि डिजिटल हिंसा झन् बढाएको छ,’ उनीहरुको चिन्ता छ । साइबर अपराधका उजुरीमा राज्य संयन्त्र प्रभावकारी नभएको, समयमै कारबाही नहुँदा पीडितहरू मानसिक तनावमा पुग्ने र कतिपयले आत्महत्यासम्म गर्ने अवस्था आएको उनीहरूले बताए। 

कसले के भने ?

अमिशा पराजुली

अमिशा पराजुलीले डिजिटल हिंसाविरुद्ध बोल्दै आफूले भोगेका अनुभव सार्वजनिक गरिन् । केही समय अघि एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ पर्दा उनले सडकबाट आफ्ना धारणाहरु संचारमाध्यममा राखेकी थिइन्। ओलीको पक्राउ गैरकानुनी रहेको उनको धारणा थियो।  त्यसपछि उनीमाथि ठुलो साइबर हमला भयो। 

त्यही अनुभव सार्वजनिक गर्दै उनले भनिन्, ‘मेरो ठाउँमा कुनै पुरुष बोले पनि त्यससँग जोडिएको महिला मान्छेलाई नै आक्रमण गर्ने ट्रेन्ड चलेको रहेछ।’ सामाजिक सञ्जालमा महिलामाथि हुने गालीगलौज, धम्की र चरित्रहत्या सामान्यजस्तै बन्दै गएको भन्दै उनले साइबर ब्युरोले समेत प्रभावकारी रूपमा काम नगरेको गुनासो गरिन्। ‘एकजनालाई पक्राउ गर्‍यो, तर अरू १९ जनालाई यत्तिकै छोडियो। नागरिकता छ, तिनपुस्ते विवरण छ, तर पनि साइबरले कुनै एक्सन लिएन,’ उनले भनिन्।

उनले डिजिटल अपराधका कारण मानिसहरू गम्भीर मानसिक तनावमा पुगिरहेको उदाहरण पनि सुनाइन्। ‘एउटी बहिनीको ६० हजार स्क्याम भएछ। उसले आत्महत्या गर्छु भनेकी थिइन्। सबै विवरण दिँदा पनि कुनै प्रक्रिया सुचारु हुँदैन,’ उनले बताइन्। आफूले आफ्नै पीडाबारे आवाज उठाउँदा समेत प्रहरीबाट सहयोग नपाएको अनुभव उनले साझा गरिन्। ‘मैले आवाज उठाउँदा पनि प्रहरीले नै चुप लाग्न भन्यो,’ भन्दै उनले थपिन्, ‘प्रहरीले नै मेरो ममीलाई ‘तपाईंको थुतुनो र मुतुनो जोगाएर राख्नू’ भनेर फर्कायो। अनि हामीले कसरी आश गर्ने, कारबाही हुन्छ भनेर?’

पराजुलीले सामाजिक सञ्जालमा महिलामाथि हुने यौनजन्य टिप्पणी र हिंसात्मक अभिव्यक्तिप्रति पनि आक्रोश व्यक्त गरिन्। “कुनै महिलाले टिकटक बनाउँछे, त्यहाँ पुरुषहरू आएर र्‍याल चुहाएर बसेका हुन्छन्,” उनले भनिन्। उनले समाजलाई पनि जिम्मेवार हुन आग्रह गर्दै भनिन्, ‘यसमा प्रत्येक व्यक्ति आफैं जिम्मेवार हुनुपर्छ। समाजले पनि सामाजिक दायित्व ग्रहण गर्नुपर्छ।’ आफूले पाएका धम्कीबारे उल्लेख गर्दै उनले भनिन्, ‘बलात्कार गरेर झाडीमा फालिदिनुपर्छ यस्तो केटीलाई भन्ने कमेन्ट आइरहेका छन्। त्यस्ता भिडियो बनाएर पिन गरेर राखिएको छ प्रोफाइलमा। अनि प्रहरी र अदालतले प्रमाण माग्छ। त्योभन्दा बढी के प्रमाण दिनु?’ 

डिजिटल हिंसा कम गर्न सबैले आफ्नो सामाजिक दायित्व निर्वाह गर्नुपर्नेमा उनले जोड दिइन्।

सरिष्मा थापा

‘१५ मिनेट बोलेको हुन्छ, मिडियाले राख्न चाहिँ २ मिनेट मात्रै राखेको हुन्छ,’ जेनजी अभियन्ता सरिष्मा थापाले कार्यक्रममा भन्दै थिइन्। 

थापाले नेपालमा बढ्दो डिजिटल हिंसा र साइबर बुलिङको मुख्य कारणमध्ये एक मिडियाको प्रस्तुतीकरण रहेको बताइन् । उनका अनुसार मानिसले लामो समय बोलेको विषयलाई मिडियाले सन्दर्भविहीन रूपमा छोट्याएर प्रस्तुत गर्दा गलत भाष्य निर्माण हुने गरेको छ। 

साइबर बुलिङका घटनामा विशेषगरी प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहका समर्थकहरू सबैभन्दा धेरै बचाउमा उत्रिने गरेको उनको आरोप छ। 

थापाले आफूले लामो समयदेखि सामाजिक सञ्जालमा लैंगिक विभेदयुक्त गाली र अपमान सहनुपरेको अनुभव सुनाइन्। ‘मैले मेरो इज्जतमा ‘डिग्निटी’ राख्नै छोडिदिएँ,’ भन्दै उनले आफूले महिलाबाटै सेक्सिस्ट गाली पाएको उल्लेख गरिन्। ‘त्यहीँबाट मैले थाहा पाएँ, केटीले केटीलाई नै बुलिङ गरिरहेका छन्,’ उनले भनिन्। उनका अनुसार उनले विगत सात वर्षदेखि नेपाल प्रहरीमा कार्यरत चार जना प्रहरी कर्मचारीबाट समेत अपमानजनक शब्द सुनिन् । ‘उनीहरूले मलाई ‘माल’ भनेर भनेका छन्,’ उनले भनिन्। सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको नाममा हिंसात्मक र अपमानजनक व्यवहार सामान्य बन्दै गएको भन्दै उनले समाजको चेतनास्तर परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याइन्।

उनले राज्यले डिजिटल हिंसाविरुद्ध स्पष्ट नीति र सम्बोधन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। ‘राज्यले एकचोटि डिजिटल हिंसामा आधारित सम्बोधन गरेको भए अलिकति सजिलो हुन्थ्यो,’ उनले भनिन्। प्रधानमन्त्रीलाई प्रश्न सोध्दा कार्यकर्ताबाट बलात्कारको धम्की आउने गरेको उल्लेख गर्दै उनले प्रश्न गरिन्, ‘मैले मानव अधिकारको कुरा गर्न नहुने हो? सुकुम्बासीका कुरा गर्न नहुने हो? प्रश्न उठाउन नहुने हो?’

उनका अनुसार आवाज उठाएकै कारण धम्की र दमनको सामना गर्नुपर्ने अवस्था लोकतान्त्रिक समाजका लागि गम्भीर चुनौती हो। ‘आवाज र प्रश्न उठाएकै भरमा जेलमा हाल्ने चलन छ,’ भन्दै उनले राज्य र समाज दुवैले आत्मसमीक्षा गर्नुपर्ने बताइन्।

ममता अधिकारी

अखिल क्रान्तिकारीकी उपाध्यक्ष ममता अधिकारीका अनुसार डिजिटल हिंसा अहिले नेपाली समाजका लागि गम्भीर चुनौती बन्दै गएको छ । 

उनका अनुसार सामाजिक सञ्जाल आउनुअघि पनि अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्न पाइन्थ्यो, तर प्रविधिको तीव्र विकाससँगै डिजिटल स्पेसमार्फत हुने हिंसा बढ्नु दुःखद अवस्था हो। ‘एआई आउनुअघि केही हदसम्म सेन्सर गर्ने अवस्था थियो, अहिले त्यो पनि छैन,’ उनले भनिन्। चेतनाको स्तरले हेर्दा महिलामाथि भइरहेको हिंसा पितृसत्तात्मक समाजकै उपज भएको उनको धारणा छ। उनले अहिलेको सरकारले समेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हिंसालाई प्रश्रय दिएको आरोप लगाइन्।

अधिकारीले राजनीतिक दलभित्रै महिलामाथि विभेद र हिंसात्मक व्यवहार हुने गरेको अनुभवसमेत सुनाइन्। ‘स्वागत मन्तव्यका लागि मात्रै बोलाउने, ब्याज वितरण गर्न लगाउने, नाच्न लगाउनेजस्ता कार्य अझै पनि हाम्रा राजनीतिक पार्टीभित्र छन्,’ उनले भनिन्। उनका अनुसार महिलालाई नेतृत्व र निर्णय प्रक्रियामा सहभागी गराउनुको सट्टा औपचारिक भूमिकामा सीमित राख्ने प्रवृत्ति पनि एक प्रकारको हिंसा हो। आन्दोलनका क्रममा आफ्नै पार्टीका नेताहरूले महिलाको लुगाबारे टिप्पणी गरेको उल्लेख गर्दै उनले राजनीतिक वृत्तभित्रको सोचमा समेत परिवर्तन आवश्यक रहेको बताइन्।

‘मिडियाले पनि नकारात्मक विषयलाई बढी प्राथमिकता दिन्छ। जे नराम्रो छ, त्यसैलाई हेडलाइन बनाउने र हाइलाइट गर्ने प्रवृत्तिले हिंसा बढाइरहेको छ,’ उनी भन्छिन्।  डिजिटल हिंसाको असर विशेषगरी पिछडिएका क्षेत्रका नागरिक, दलित तथा सिमान्तकृत समुदायमाथि बढी पर्ने गरेको उनको भनाइ छ। 

कमला परियार

‘कृत्रिम बुद्धिमत्ता र डीपफेक प्रविधिको दुरुपयोगका कारण डिजिटल हिंसा झन् बढिरहेको छ।’ नेकपा बहुमत अन्तर्गतको अखिल क्रान्तिकारीकी कोषाध्यक्ष समेत रहेकी कमला परियारको जिकिर छ। 

उनका अनुसार एआई र डिपफेकको प्रयोग विशेषगरी महिलालाई कमजोर पार्ने र पछाडि धकेल्ने माध्यमका रूपमा प्रयोग भइरहेको छ। ‘एआई र डिपफेकले गर्दा महिला हिंसा बढेको जस्तो लाग्छ,’ उनले भनिन्। उनले ट्रान्सजेन्डर समुदायमाथि पनि डिजिटल स्पेसमार्फत घृणा, अपमान र हिंसा भइरहेको उल्लेख गरिन्।

परियारले आफू राजनीतिमा सक्रिय हुँदा दलित पहिचानकै कारण सामाजिक सञ्जालमा अपमानजनक आक्रमण सहनुपरेको अनुभव सुनाइन्। ‘दलित भएकै कारण मलाई पटक पटक ‘दमीनी’ भन्दै पोस्ट गरेर आक्रमण गरियो,’ उनले भनिन्। उनका अनुसार समाजमा महिलाले आफ्नै क्षमता र मेहनतका आधारमा अगाडि बढेका हुन् भन्ने स्वीकार गर्ने वातावरण अझै बनेको छैन। उनले सपना प्रधान मल्लको उदाहरण दिँदै महिलाको सफलतालाई पनि पितृसत्तात्मक दृष्टिकोणबाट हेर्ने प्रवृत्ति अझै कायम रहेको बताइन्।

उनले पछिल्लो समय सामाजिक सञ्जालमा गालीगलौज र धम्की बढ्दै जाँदा धेरै मानिस बोल्नै छाड्ने अवस्थामा पुगेको बताइन्। ‘डिजिटल स्पेसमा महिलाका राम्रा काम राखिँदैनन्, विवादित कुरा, कपडा कस्तो छ, हिल कस्तो छ भन्ने आधारमा मिडियाले स्पेस दिन्छ,’ उनले भनिन्। साइबर अपराधका घटनामा राज्य संयन्त्र उदासीन बनेको भन्दै उनले अन्तर्राष्ट्रिय अपराधमा इन्टरपोलमार्फत आरोपी पक्राउ हुने देशमै साइबर अपराधका आरोपीमाथि कारबाही गर्न कमजोरी देखिएको बताइन्। ‘समयमै साइबर ब्युरोमा परेका केसमा काम नहुँदा कतिपयले आत्महत्यासमेत गरेका छन्,’ उनी भन्छिन्।  

उनले डिजिटल हिंसाविरुद्ध प्रभावकारी कानुनी र संस्थागत पहल आवश्यक रहेकोमा जोड दिइन्।

माजिद अन्सारी

जेनजी अभियन्ता माजिद अन्सारी डिजिटल हिंसालाई केवल महिलासँग मात्रै जोडिएको विषय नभई समग्र समाजको चेतना र संरचनासँग सम्बन्धित समस्या भएको बताउछन् । उनका अनुसार महिलामाथि हिंसा बढ्नुको मुख्य कारण समाजले विकास गरिरहेको सोच र हिंसालाई सामान्य रूपमा स्वीकार गर्ने संस्कार हो। 

‘एउटा स्टाटसले संसद् विघटन हुन्छ भने सोच्नुस् हाम्रो समाज कहाँ छ,’ उनले भने। हिंसाको सामान्यीकरणको जड निकै पुरानो रहेको उल्लेख गर्दै उनले पुष्पकमल दाहाल ,केपी शर्मा ओली र शेरबहादुर देउवा नेताहरूले समेत विभिन्न समयमा हिंसालाई सामान्य बनाउने भाष्य निर्माण गरेको आरोप लगाए।

अन्सारीले डिजिटल हिंसा बढाउन मिडियाको भूमिकासमेत महत्त्वपूर्ण रहेको बताए। ‘कतिपय मिडियाका साथीहरूले ‘१० लाख, १० लाख’ भन्दै ट्याग दिएर लाखौँ पैसा कमाउनुभयो,’ उनले भने। उनका अनुसार सनसनीपूर्ण सामग्रीलाई प्राथमिकता दिने प्रवृत्तिले डिजिटल स्पेसलाई झन् विषाक्त बनाइरहेको छ। उनले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४६ र मुलुकी फौजदारी संहिता, २०७४ को दफा २९५ को उल्लेख गर्दै वर्तमान कानुनी संरचना पर्याप्त प्रभावकारी नभएको टिप्पणी गरे। ‘गाली गर्न नहुनेमा एक वर्षको सजाय छ, तर हामीले कानुन यस्तो बनाएका छौँ कि पुर्पक्षका लागि कोही पनि थुनामा जाँदैन,’ उनले भने।

उनले सरकार डिजिटल हिंसाको विषयमा गम्भीर नभएको आरोपसमेत लगाए। ‘डिजिटल हिंसामा सरकारले केही काम नै गर्दैन,’ उनले भने। उनका अनुसार डिजिटल हिंसाबाट कुनै वर्ग सुरक्षित छैन। ‘न सत्तापक्ष, न प्रतिपक्ष, न बाहुन, न दलित, न जनजाति-कोही पनि महिला डिजिटल हिंसाबाट सुरक्षित छैन,’ उनले बताए। समाज चरम व्यक्तिवादी सोचतर्फ गएको र त्यसले सहिष्णुता कमजोर बनाएको उनको भनाइ थियो। 

डिजिटल हिंसा न्यूनीकरणका लागि सबैभन्दा पहिले स्पष्ट र कडा कानुन निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

 

विश्वकपमा कसको वर्चस्व ?

काठमाडौं। फिफा विश्वकप २०२६ विश्व फुटबल इतिहासकै सबैभन्दा ठूलो र ऐतिहासिक संस्करणका रूपमा आयोजना हुन लागेको छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्न लागेको यो प्रतियोगिता पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुनेछ ।

प्रतियोगितामा कुल १०४ खेल हुनेछन् र यो ३९ दिनसम्म सञ्चालन हुनेछ, जसले विश्वकपलाई अझ विस्तारित र भव्य बनाउनेछ । फिफाले गरेको यो परिवर्तनले फुटबललाई अझ समावेशी बनाउँदै नयाँ राष्ट्रहरूलाई विश्व मञ्चमा अवसर दिने लक्ष्य राखेको छ ।

फिफा विश्वकपको सुरुवात सन् १९३० मा उरुग्वेबाट भएको थियो । पहिलो संस्करणमै आयोजक उरुग्वेले अर्जेन्टिनालाई फाइनलमा हराउँदै उपाधि जितेको थियो । त्यसपछि विश्वकप हरेक चार वर्षमा आयोजना हुँदै आएको छ, दोस्रो विश्वयुद्धका कारण केही संस्करणहरू रोकिए पनि यो प्रतियोगिता विश्वकै सबैभन्दा लोकप्रिय खेलकुद इभेन्ट बनेको छ । सुरुमा सीमित राष्ट्रहरूको सहभागिता रहेको यो प्रतियोगिता अहिले ४८ राष्ट्रसम्म विस्तार भइसकेको छ ।

विश्वकप इतिहासमा सबैभन्दा सफल राष्ट्र ब्राजिल हो, जसले पाँच पटक उपाधि जितेको छ । ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा लगातार उपाधि जित्दै विश्व फुटबलमा आफ्नो दबदबा कायम गरेको थियो । पेलेको नेतृत्वमा ब्राजिलले देखाएको आक्रामक र आकर्षक खेल शैली आज पनि विश्व फुटबलको पहिचान मानिन्छ । पछि ब्राजिलले १९९४ र २००२ मा पुनः विश्वकप जित्दै आफ्नो सफलता दोहोर्याएको थियो ।

इटाली र जर्मनी समान रूपमा चार–चार पटक विश्वकप विजेता बनेका छन् । इटालीले १९३४ र १९३८ मा लगातार उपाधि जितेर प्रारम्भिक युगमै आफ्नो शक्ति प्रदर्शन गरेको थियो भने २००६ मा फ्रान्सलाई पराजित गर्दै चौथो पटक उपाधि जितेको थियो । जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप जित्दै रणनीतिक अनुशासन र स्थिर प्रदर्शनको उदाहरण प्रस्तुत गरेको छ ।

अर्जेन्टिनाले हालसम्म तीन पटक विश्वकप जितेको छ। जसमा पछिल्लो पटक सन् २०२२ मा कतारमा लियोनेल मेसीको नेतृत्वमा उपाधि जितेको थियो । फ्रान्सले १९९८ र २०१८ मा दुई पटक विश्वकप जितेको छ भने इंग्ल्यान्डले १९६६ मा एक पटक मात्र उपाधि जितेको छ । स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप जितेर आफ्नो इतिहास रचेको थियो । उरुग्वेले पनि पहिलो संस्करण १९३० र १९५० मा गरी दुई पटक उपाधि जितेको छ ।

विश्वकप इतिहासमा १३ राष्ट्रले फाइनल खेलेका छन्, तर पाँच राष्ट्रले उपविजेता बनेर पनि उपाधि जित्न सकेका छैनन् । नेदरल्यान्ड्स तीन पटक फाइनलमा पुगे पनि उपाधि जित्न नसकेको सबैभन्दा चर्चित उदाहरण हो । हंगेरी र चेकोस्लोभाकिया दुई–दुई पटक फाइनलमा पुगेर पनि पराजित भएका थिए । पछिल्लो समय क्रोएसिया सन् २०१८ मा फाइनल पुगेर उपविजेता बनेको थियो ।

अहिलेसम्मको विश्वकप इतिहासमा अधिकांश उपाधि युरोप र दक्षिण अमेरिकी राष्ट्रहरूले बाँडेका छन् । युरोपेली राष्ट्रहरूले १२ भन्दा बढी पटक विश्वकप जितेका छन्। भने दक्षिण अमेरिकी राष्ट्रहरूले बाँकी अधिकांश उपाधि जितेका छन् । एसिया, अफ्रिका र उत्तर अमेरिकाबाट अहिलेसम्म कुनै राष्ट्रले विश्वकप जित्न सकेका छैनन्। जसले विश्व फुटबलमा शक्ति सन्तुलन अझै सीमित रहेको देखाउँछ ।

आगामी २०२६ विश्वकप तीन देशले पहिलो पटक संयुक्त रूपमा आयोजना गर्नेछन् । मेक्सिकोले तेस्रो पटक विश्वकप आयोजना गर्दै इतिहास रच्नेछ भने अमेरिका दोस्रो पटक आयोजक बन्नेछ । क्यानडाले पहिलो पटक विश्वकप आयोजना गर्ने अवसर पाएको छ । उत्तर अमेरिकामा हुने यो संस्करणले विश्व फुटबललाई नयाँ दर्शक, नयाँ बजार र नयाँ संरचनामा विस्तार गर्ने अपेक्षा गरिएको छ ।

४८ राष्ट्रको सहभागिताले विश्वकपलाई अझ प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ, तर खेल संख्या बढ्दा खेलाडीहरूमा थकान र चोटपटकको जोखिम पनि बढ्न सक्ने आलोचना पनि गरिएको छ । नयाँ ढाँचाले कम रैंकिङ भएका राष्ट्रहरूलाई ठूला टिमसँग खेल्ने अवसर दिने भएकाले केही अप्रत्याशित नतिजा आउन सक्ने अनुमान पनि गरिएको छ ।

फुटबल विश्लेषकहरूका अनुसार २०२६ विश्वकपमा पनि ब्राजिल, अर्जेन्टिना, फ्रान्स, जर्मनी, इंग्ल्यान्ड र स्पेन जस्ता राष्ट्रहरू मुख्य दाबेदार रहनेछन् । तर पछिल्लो समय मोरक्को जस्ता टिमहरूको प्रदर्शनले नयाँ सम्भावनाको संकेत दिएको छ। जसले फुटबलमा शक्ति सन्तुलन परिवर्तन हुन सक्ने संकेत गर्छ ।

 

ट्युनिसियाको विश्वकप खेल्ने टोली घोषणा

काठमाडौं। साब्री लामुचीले फिफा विश्वकप २०२६ का लागि ट्युनिसियाको २६ सदस्यीय टोली घोषणा गरेका छन्।

‘इगल्स अफ कार्थेज’ नामले परिचित ट्युनिसियाले समूह एफमा जापान, नेदरल्यान्ड्स र स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ। यसपटकको टोलीमा सन् २०२५ अफ्रिका कप अफ नेसन्स खेलेको टोलीभन्दा केही नयाँ अनुहारलाई समावेश गरिएको छ।

विश्वकप टोलीमा स्थान बनाउने चर्चित खेलाडीमध्ये रानी खेदीरा पनि रहेका छन्। ३२ वर्षीय मिडफिल्डरले गत मार्चमा ट्युनिसियाको प्रतिनिधित्व गर्ने निर्णय गरेका थिए। उनले हाइटी र क्यानडाविरुद्धको मैत्रीपूर्ण खेलमा प्रभावशाली प्रदर्शन गर्दै आफ्नो अनुभव देखाएका थिए।

राष्ट्रिय टोली सम्हालेयता प्रशिक्षक लामुचीले टोलीलाई नयाँ स्वरूप दिने संकेत गर्दै युवा तथा पुनरागमन गरेका खेलाडीमाथि विश्वास देखाएका छन्। टोलीमा खलिल आयारी, राएद चिखाउई, रायान एलौमी र ओमार रेकीकलाई पनि समावेश गरिएको छ।