`

जुम्ला मालपोत कार्यालयले उठायो १ करोड ८६ लाख बढी पक्राउ

जुम्ला । मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा कुल १ करोड ८६ लाख ७२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ। साउनदेखि फागुन मसान्तसम्म विभिन्न शीर्षकमा उक्त राजस्व संकलन गरिएको हो।

कार्यालय प्रमुख मोहनबहादुर विष्टका अनुसार सबैभन्दा धेरै राजस्व घरजग्गा लिखत रजिष्ट्रेसन शुल्कबाट १ करोड २६ लाख २३ हजार ७७७ रुपैयाँ उठेको छ। त्यस्तै पुँजीगत लाभकरबाट ५७ लाख ३४ हजार ५३६ रुपैयाँ र विविध शीर्षकमा ३ लाख १३ हजार ८६९ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

सङ्कलित राजस्वमध्ये पुँजीगत लाभकर संघीय सरकारमा पठाउने व्यवस्था रहेको छ भने पुर्जा धितो, रोक्का, संशोधन, घर कायम, नामसारी विलम्ब शुल्कलगायत अन्य शीर्षकको राजस्व प्रदेश सरकारमा पठाइने प्रावधान छ।

यसैगरी रजिष्ट्रेसन शुल्कबाट संकलित रकममध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय तहलाई बाँडफाँट गरिने व्यवस्था रहेको कार्यालयले जनाएको छ।

चर्चित अष्ट्रेलियन क्रिकेटर डेविड वार्नर पक्राउ

सिड्नी।  अष्ट्रेलियाका चर्चित क्रिकेटर डेविड वार्नर पक्राउ परेका छन्। 

मदीरा सेवन गरेर गाडी चलाएको आरोपमा वार्नरलाई सिड्नीको मारौबराबाट नियन्त्रणमा लिएको हो। प्रहरीको नियमित चेकिङमा परेका उनलाई अब आगामी महिना अदालतमा पेश गरिनेछ। 

वार्नर पाकिस्तान सुपर लिग (पिएसएल) अन्तर्गत कराची किङ्सका कप्तान समेत हुन्। 

‘आइकार’ र ‘ओमोडा जेको’ वारेन्टी विस्तार

काठमाडौं । नेपालका लागि ओमोडा जेको र आइकारका आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रालिले आफ्ना विद्युतीय सवारी (इभी) मोडेलहरूमा ११ वर्षे विस्तारित वारेन्टी घोषणा गरेको छ। कम्पनीले यो वारेन्टीलाई नेपालमै उपलब्ध सबैभन्दा लामो इभी वारेन्टीमध्ये एक दाबी गरेको छ।

हालसम्म यी सवारीमा ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको मानक वारेन्टी उपलब्ध थियो। नयाँ कार्यक्रमअन्तर्गत अब ब्याट्रीको वारेन्टी ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर तथा ड्राइभ मोटर एसेम्बलीको वारेन्टी ११ वर्ष वा २ लाख किलोमिटरसम्म विस्तार गरिएको छ, जुन पहिले पुग्ने आधारमा लागू हुनेछ।

यो विस्तारित वारेन्टी ओमोडा इ५, जेको जे५, जेको जे६टी र आइकार भी२३ मोडेलहरूमा लागू हुनेछ। कम्पनीका अनुसार यसले ग्राहकको विश्वास बढाउनुका साथै विद्युतीय सवारीको स्वामित्वलाई अझ सुरक्षित र भरपर्दो बनाउनेछ।

वारेन्टीअन्तर्गत ट्र्याक्सन ब्याट्री प्याक र ड्राइभ मोटर एसेम्बलीमा देखिने प्राविधिक समस्याहरूमा पूर्ण कभरेज प्रदान गरिने कम्पनीले जनाएको छ।

एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यस पहलले विद्युतीय सवारी प्रविधिप्रतिको कम्पनीको विश्वास र ग्राहकप्रतिको प्रतिबद्धता झल्काउने बताए।

हाल कम्पनीले देशभर १८ भन्दा बढी बिक्री केन्द्र र १५ सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ। साथै, बिक्री र चार्जिङ पूर्वाधार विस्तार गर्दै ओमोडा जेको र आइकारले नेपालमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै लगेका छन्।

नेपाल टेलिकमको नयाँ व्यवस्था : डाटा सकिएपछि ब्यालेन्स काटिने समस्याको अन्त्य

काठमाडौं।   नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्दै ‘डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने’ समस्या अन्त्य गर्ने तयारी गरेको छ। नयाँ प्रणालीअनुसार अब डाटा प्याकेजको ९० प्रतिशत प्रयोग भएपछि ग्राहकलाई पूर्वसूचना दिइनेछ, जसले बाँकी डाटाबारे समयमै जानकारी दिनेछ।

प्याकेज सकिएपछि सिधै ब्यालेन्स काटिने व्यवस्था हटाउँदै ‘पे-एज-यू-गो’ विकल्प ल्याइएको छ। यसअनुसार ग्राहकले प्याकेजबिनै इन्टरनेट प्रयोग गर्न सक्नेछन् र आवश्यकताअनुसार नयाँ प्याकेज लिने वा ‘पे-एज-यू-गो’ मोड रोज्ने निर्णय आफैं गर्न पाउनेछन्।

नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो सुविधा यूएसएसडीमार्फत तीनदेखि पाँच दिनभित्र र मोबाइल एपमार्फत सातदेखि १० दिनभित्र पूर्ण रूपमा लागू हुनेछ।

दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे उठिरहेका गुनासालाई सम्बोधन गर्न कम्पनीले ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार तथा प्रशासनिक प्रक्रियामा सुधारका काम अघि बढाएको जनाएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

यसैबीच ‘वन टाइम केवाइसी’ प्रणाली लागू गर्ने तयारी पनि गरिएको छ। यस प्रणालीमार्फत ग्राहकले एकपटक मात्र विवरण बुझाएपछि पुनःपुनः कागजात पेस गर्नुपर्ने झन्झट अन्त्य हुनेछ। आगामी ३० दिनभित्र यो प्रणाली कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको छ।

डिजिटल रूपान्तरणअन्तर्गत ई-सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा सिम स्वामित्व हस्तान्तरणजस्ता सेवाहरू अनलाइनबाटै उपलब्ध गराउने तयारी गरिएको छ। यसले विशेषगरी दुर्गम क्षेत्रका ग्राहकलाई सहजता दिने अपेक्षा गरिएको छ।

त्यसैगरी ‘एकल विन्दु सेवा’ सहायता कक्ष स्थापना गरी ग्राहकले एकै ठाउँबाट सबै सेवा पाउने व्यवस्था गर्ने योजना पनि अघि सारिएको छ।

साथै, फोरजी मोबाइल नेटवर्कको गुणस्तर सुधार गर्न नीतिगत व्यवस्था परिमार्जन तथा थप फ्रिक्वेन्सी उपलब्ध गराउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। आगामी ३० दिनभित्र सेवा गुणस्तरमा सुधार ल्याउने लक्ष्य राखिएको छ।

भारतमा १००० करोड छिटो कमाउने चलचित्रको शिर्षस्थानमा ‘धुरन्धर : द रिभेन्ज’

काठमाडौं । आदित्य धरको निर्देशनमा बनेको चलचित्र ‘धुरन्धर: द रिभेन्ज’ले भारतीय सिनेमामा नयाँ इतिहास रचेको छ। प्रदर्शनको छोटो अवधिमै फिल्मले भारतमै १ हजार करोड रुपैयाँ नेट कलेक्सन पार गर्दै कीर्तिमान बनाएको हो।

विश्वव्यापी रूपमा फिल्मको व्यापार १६२२ करोड रुपैयाँभन्दा माथि पुगेको छ, जसका कारण यसलाई अल टाइम ब्लकबस्टरको रूपमा हेरिएको छ।

तेस्रो सातामा प्रवेश गर्दा पनि फिल्मको कमाइ घटेको छैन। १६औँदेखि १८औँ दिनसम्मको तेस्रो सप्ताहन्तमा मात्रै फिल्मले ८० करोड रुपैयाँ कमाउन सफल भएको छ।

हालसम्म भारतमा यसको कुल नेट कलेक्सन १०४१ करोड र ग्रस कलेक्सन १२२८ करोड पुगेको छ। फिल्मले आफ्नो पहिलो भागको लाइफटाइम कमाइलाई मात्र १० दिनमै पार गर्दै नयाँ रेकर्ड कायम गरेको हो। साथै, १००० करोड क्लबमा सबैभन्दा छिटो प्रवेश गर्ने विश्वव्यापी भारतीय फिल्मको कीर्तिमान पनि यसैले बनाएको छ।

अमर न्यौपानेद्वारा लिखित सेतो धर्तीको नाट्य रुपान्तरण हुँदै

काठमाडौं । लेखक तथा प्राज्ञ अमर न्यौपानेको चर्चित उपन्यास ‘सेतो धरती’लाई नाट्य रूपान्तरण गरिएको छ। मदन पुरस्कार प्राप्त उक्त कृतिमा आधारित नाटक कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको हो।

नाटकको मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमाल रहेकी छन्। यसै नाटकमार्फत उनले रंगमञ्चमा डेब्यु गर्न लागेकी हुन्।

‘सेतो धरती’ नाटकको निर्माण रेखा थापाले गरेकी हुन् भने यसमा कान्तिपुर फिल्म एकेडेमीका ३० भन्दा बढी कलाकारहरूको सहभागिता रहनेछ।

नाटक आगामी चैत २७ गतेदेखि वैशाख १९ गतेसम्म मञ्चन गरिनेछ। बुधबारबाहेक हरेक दिन साँझ ५:१५ बजे प्रदर्शन हुनेछ भने शनिबार, आइतबार र नयाँ वर्षको दिन दिउँसो १:१५ बजे विशेष शो पनि राखिएको छ।

प्रधानमन्त्री बालेनसहित १४ मन्त्रीको सम्पत्ति गुपचुप, अपारदर्शी सरकार !

काठमाडौं । निर्वाचनअघि पारदर्शिता र सुशासनको कडा नारा दिँदै मत मागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफ्नै वाचामा चिप्लिएको आरोप खेप्न थालेको छ।

सार्वजनिक पद सम्हाल्नुअघि नै आफ्नो सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको रास्वपाले सरकार गठनपछि उक्त वाचा कार्यान्वयन नगरेर मतदातालाई ढाँटेको भन्दै तीब्र आलोचना भइरहेको छ ।

रास्वपा वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा गठित मन्त्रिपरिषद्का अधिकांश सदस्यहरूले अझैसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार मंगलबार अपराह्नसम्म अर्थमन्त्री स्वर्णिम वाग्लेले मात्र आफ्नो सम्पत्ति विवरण बुझाएका छन्। अन्य मन्त्रीहरूको विवरण आउने क्रममा रहेको उनको भनाइ छ।

कानुनी रूपमा सार्वजनिक पदमा नियुक्त व्यक्तिले ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था भए पनि त्यसलाई सार्वजनिक गर्नुपर्ने बाध्यता भने छैन।

तर, रास्वपाले चुनावअघि नै ‘पद सम्हाल्नुअघि सम्पत्ति विवरण सार्वजनिक गर्ने” स्पष्ट वाचा गरेको थियो। यही वाचाले मतदातामा ठूलो भरोसा र अपेक्षा सिर्जना गरेको थियो।

रास्वपाको सयबुँदे घोषणापत्रको १६ नम्बर बुँदामा ‘सार्वजनिक पद सम्हाल्नुअघि हामी आफ्नो सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्नेछौँ’ भन्ने उल्लेख छ।

साथै कार्यकाल पूरा भएपछि सम्पत्तिमा आएको परिवर्तनको स्वतन्त्र लेखापरीक्षण गराएर जनतासामु ल्याउने प्रतिबद्धता पनि गरिएको थियो।

तर अहिले व्यवहारमा त्यो वाचा कार्यान्वयन नहुँदा रास्वपामाथि ‘जनतालाई भ्रममा पारेर मत लिएको’ आरोप लाग्न थालेको छ।

भ्रष्टाचारविरुद्ध काम गर्ने संस्था ट्रान्स्प्यारन्सी इन्टरनेशनल नेपालका प्रमुख मदनकृष्ण शर्माले यस्तो अवस्थाले जनविश्वासमा नकारात्मक असर पार्ने बताएका छन्। ‘चुनावका बेला गरिने वाचा जनतासँगको करारजस्तै हो। यदि त्यो पूरा गर्न सकिँदैन भने किन सकिएन भन्ने स्पष्ट रूपमा जनतालाई जानकारी दिनुपर्छ,’ उनले भने, ‘नत्र यो मतदातालाई ढाँटिएको जस्तो देखिन्छ।’

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले यसअघि मन्त्रिपरिषदमा यसबारे छलफल हुने बताएका थिए।

तर, अहिलेसम्म कुनै औपचारिक निर्णय सार्वजनिक भएको छैन। यसले पनि सरकारको इच्छाशक्तिमाथि प्रश्न उठाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता अर्यालका अनुसार सम्पत्ति विवरण सार्वजनिक गर्ने विषय ऐच्छिक हो। ‘सम्पत्ति विवरण गोप्य नै रहन्छ, मन्त्रिपरिषद्ले चाहेमा मात्र सार्वजनिक गर्ने निर्णय गर्न सक्छ,’ उनले भने।

तर विश्लेषकहरू भन्छन्रा- रास्वपाले कानुनभन्दा माथि उठेर पारदर्शिता देखाउने वाचा गरेको अवस्थामा ‘ऐच्छिक’ भन्ने बहानाले जिम्मेवारीबाट पन्छिन मिल्दैन।

राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपाको उदय नै पारदर्शिता, जवाफदेहिता र पुरानो राजनीतिक संस्कारको विरोधको आधारमा भएको थियो। विशेषगरी जेन–जी आन्दोलनपछि बनेको जनमतले नयाँ राजनीतिक शक्तिलाई विश्वास गरेको थियो। तर अहिले त्यही शक्तिबाट पुरानै शैली दोहोरिएको संकेत देखिन थालेको उनीहरूको भनाइ छ।

मतदाताहरूले पनि सामाजिक सञ्जालमार्फत् असन्तुष्टि व्यक्त गर्न थालेका छन्। कतिपयले ‘पुराना दलभन्दा फरक हुन्छ’ भन्ने आशा राखेर रास्वपालाई मत दिएको तर अहिले व्यवहारमा कुनै भिन्नता नदेखिएको गुनासो गरेका छन्।

पारदर्शिताको वाचा गरेर सत्तामा पुगेपछि त्यसलाई कार्यान्वयन नगर्नु राजनीतिक नैतिकतामाथिको प्रश्न भएको उनीहरूको टिप्पणी छ।

यस्तो अवस्थामा रास्वपाले आफ्नो विश्वसनीयता जोगाउन छिटो निर्णय लिनुपर्ने दबाब बढ्दै गएको छ। चुनावअघि गरेको प्रतिबद्धता पूरा गरेर देखाउने कि कानुनी प्रावधानको आडमा पछि हट्ने भन्ने प्रश्नले अब रास्वपाको राजनीतिक छविलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।

ह्वाट्सएपबाट चिट चोराउने शिक्षकसहित चार जना पक्राउ

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)मा प्रविधिको दुरुपयोग गरी चिट चोराउने कार्यमा संलग्न एक शिक्षकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गोप्य सूचनाका आधारमा परीक्षा केन्द्र आसपासबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

रौतहट प्रहरीले जनाएअनुसार माध्यमिक विद्यालय सिम्राभवानीपुर परीक्षा केन्द्रमा चिट चोराउँदै गरेको अवस्थामा चन्द्रपुर नगरपालिका-६ का १९ वर्षीय रञ्जित साह पक्राउ परेका हुन्।

यसैगरी, माध्यमिक विद्यालय शीतलपुरमा कार्यरत शिक्षक चन्द्रपुर नगरपालिका-७ वनबहुअरी टोलका ४० वर्षीय तेजनारायण चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, गुजरा नगरपालिका-५ लक्ष्मीपुरका २१ वर्षीय महमद हुसेन र सोही स्थानका २४ वर्षीय समिर मन्सुरी पनि सोही कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले सामाजिक सञ्जाल ह्वाट्सएपमा छुट्टै समूह बनाएर परीक्षामा अनियमितता गरेका थिए। उक्त समूहमार्फत प्रश्नपत्र बाहिर निकाल्ने र उत्तर तयार पारेर परीक्षार्थीसम्म पुर्‍याउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनामाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कतारमा रहेकी ‘भाउजू’को एसईई परिक्षा दिने ‘नन्द’ पक्राउ

इनरुवा। सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेकी छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेकी हरिनगर-६ की २० वर्षीया नुसरत खातुनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केशव थेबेका अनुसार खातुनले आफ्नी भाउजू सलमा अजहरको नाममा जारी गरिएको प्रवेशपत्र प्रयोग गरी परीक्षा दिइरहेको अवस्थामा फेला परेकी हुन्।

उनी पहिलो दिनदेखि नै लगातार परीक्षा दिँदै आएकी भएपनि मंगलबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

भोक्राहा-२ स्थित जामिया इस्लामिया मदरसामा कक्षा १० मा अध्ययनरत सलमा हाल कतारमा रहेको जनाइएको छ।

नक्कली परीक्षार्थी बनेर परीक्षा दिनु शिक्षा ऐनविपरीत भएकाले सोहीअनुसार खातुनमाथि कारबाही प्रक्रिया अघि बढाइने सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।

अमिशामाथिको ‘साइबर बुलिङ’का विषयमा एमालेका १८ सांसदको उजुरी

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा किशोरीहरुमाथि भएका साइबर बुलिङका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल,केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीसहित १८ महिला सांसदले भोटाहिटीस्थित ब्युरोमा लिखित उजुरी दिएका हुन् ।

सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटहरुमार्फत विशेष गरी साइबर बुलिङ, दुव्र्यवहार, अपमानजनक व्यवहार, घृणा र टीका टिप्पणीले किशोरीहरु मानसिक उत्पीडनको सिकार भएको उजुरीमा उल्लेख छ । त्यस्तो व्यवहारले उनीहरुको आत्मसम्मान, मानसिक स्वास्थ्य तथा सामाजिक सुरक्षामा गम्भीर असर पारेको उजुरीमा जनाइएको छ ।

यस्ता साइबर बुलिङसम्बन्धी उजुरीको छिटो र प्रभावकारी छानबिन तथा अनुसन्धान गर्न र पीडितलाई तत्काल सुरक्षा र न्याय सुनिश्चित गर्न माग गरिएको छ ।यसै सन्दर्भमा प्रतिनिधिसभा बैठकमा एमालेकी सांसद विष्णुमाया विकले पनि किशोरीहरू साइबर बुलिङको शिकार भइरहेको विषय उठाएकी थिइन्।

उनले राजनीतिक आस्थाका आधारमा विशेषगरी महिलामाथि सामाजिक सञ्जालमा लक्षित आक्रमण हुनु निन्दनीय भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

होचा पुड्का संघको सहकार्यमा नाटक ‘उत्कर्ष’

काठमाडौं। सामाजिक सन्देशमूलक नाटक ‘उत्सर्ग’ काठमाडौंका विभिन्न स्थानमा मञ्चन भइरहेको छ। नेपाल होचा पुड्का संघले स्थानीय निकायको सहकार्यमा निर्माण गरेको यस नाटकले उचाइ कम भएका महिलाहरू आमा बन्न सक्छन् वा सक्दैनन् भन्ने विषयलाई उठान गरेको हो ।

उक्त नाटकमार्फत प्रजनन स्वास्थ्य, परिवार नियोजन तथा महिला अधिकारसम्बन्धी विषयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको संघले जनाएको छ। समाजमा होचा पुड्का महिलाको मातृत्व क्षमताबारे रहेका भ्रम र पूर्वाग्रह हटाउन नाटकले सशक्त सन्देश दिने अपेक्षा गरिएको छ।

समाजमा विद्यमान भ्रम र डरविरुद्ध सचेतना फैलाउने उद्देश्यले नाटक तयार पारिएको हो।

नाटक ‘उत्सर्ग’ मा निश्चल श्रेष्ठ, अनिता थापा, सरु दाहाल, राजेन्द्र गिरि, रिया घिमिरे, सुर्या खान, लालुमाया पाख्रीन र निशल दुलाललगायत कलाकारको अभिनय रहेको छ। नाटक राजु खतिवडाले लेखेका हुन् भने दुई दशकदेखि रंगकर्ममा सक्रिय जेबी डिसीले निर्देशन गरेका छन्।

काठमाडौंका विभिन्न स्थानमा मञ्चन सम्पन्न भएपछि नाटक पोखरा र हेटौँडामा पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ।

ओली-लेखकप्रति सरकारले छुट्टै नजीर स्थापना गरेको एमाले सांसद बरालको आरोप (भिडियो)

काठमाडौं।  एमाले सांसद गुरु प्रसाद बरालले नेपालको संविधान र विधिको शासन देशभर उल्लङ्घन भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशभर सरकारले संविधानको उलंघन गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘नेपालको संविधान, विधिको शासन देशैभर उल्लङ्घन भएको छ। यो उल्लङ्घन गर्ने अधिकार सरकारलाई छैन। यसअर्थमा संविधान प्रदत्त  नागरिकका मौलिक अधिकारहरुलाई स्थापित गर्नका लागि निर्देशनका लागि अनुरोध गर्दछु।’

यस्तै बरालले हिरासतमा रहेका पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक माथी छुट्टै नजीर स्थापना गर्ने षड्यन्त्र भएको बताएका छन्। सुरक्षा निकयलाई छुट्टै कार्यदल,राष्ट्रसेवकहरूको सन्दर्भमा दोस्रो नजिर र पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीको सन्दर्भमा तेस्रो नजिर स्थापना गर्ने सरकारको प्रयासप्रति उनले गम्भीर आपत्ति जनाएका छन्।

उनले भने, ‘भदौ २३ र २४ को घटनालाई लिएर तीन खालको स्तरमा एक सुरक्षा निकयलाई छुट्टै कार्यदल बनाएर अध्ययन गर्ने, राष्ट्रसेवकहरुको सन्दर्भमा दोस्रो नजीर र पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको सन्दर्भमा तेस्रो नजिर स्थापना गर्न खोजिँदै छ, यसप्रति म गम्भीर आपत्ति प्रकट गर्छु। यसमा सभामुख मार्फत गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु।’

कपिलवस्तुको काली मन्दिरमा प्रहरीको गोली लागेर मृत्यु भएका युवकलाई सहिद घोषणा गर्न माग

काठमाडौं। सांसद अभिषेकप्रताप साहले कपिलवस्तुको वरगदामा काली मन्दिर तोडफोडपछि प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकलाई सहिद घोषणा गर्न माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार उनले घटनाको छानबिन गर्न माग गरेका हुन् ।

उनले भने, ‘गोली लागेर गम्भीर घाइते भएका अरुण यादवको उपचारका क्रममा सोमबार (चैत २३) मृत्यु भएको थियो । “यस घटनाको गम्भीर छानबिनका लागि गृहमन्त्रीको निर्देशनमा उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कारबाही गरिनु आवश्यक छ। ‘

त्यसैगरी,उनले अरू घाइतेको उपचार र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरे।

संसदमा ओली-लेखकलाई तुरुन्त थुनामुक्त गर्न माग

काठमाडौं। नेकपा एमालेका सांसद कुलभक्त शाक्य र यशोदा बरालले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थुनामुक्त गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसदद्वयले उनीहरूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै थुनामुक्त गर्न आग्रह गरेका हुन्।

१ लाख ४० हजार घुससहित एकजना पक्राउ

काठमाडौं । नेपाल विद्युत प्राधिकरण अन्तर्गत कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्रकुमार दास घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनलाई १ लाख ४० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले दिएको जानकारी अनुसार दासले चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर जडान गरी लाइन उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सोमबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ बाट उनलाई रंगेहात पक्राउ गरेको हो।

हाल दासमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

आज आइपिएल क्रिकेटमा राजस्थान र मुम्बई आमनेसामने हुँदै

काठमाडौं।  इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राजस्थान रोयल्स र मुम्बई इन्डियन्स आमनेसामने हुँदैछन्।

खेल गुवाहाटीस्थित बारसापारा क्रिकेट स्टेडियममा नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। सिजनका सुरुवाती दुई खेल जितेको राजस्थान यो खेल जित्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लने लक्ष्यमा छ। अघिल्लो खेलमा पराजित भएको मुम्बई भने पुनरागमन गर्ने प्रयासमा हुनेछ।

यो खेलमा युवा ओपनर वैभव सूर्यवंशी र अनुभवी तीव्र गतिका बलर जसप्रित बुमराहबीचको प्रतिस्पर्धा विशेष आकर्षण रहने अपेक्षा गरिएको छ। सूर्यवंशीले सिजनको सुरुवाती खेलहरूमा आक्रामक ब्याटिङ गर्दै प्रभावशाली प्रदर्शन गरेका छन्।

मुम्बईका कप्तान हार्दिक पाण्ड्या पनि आजको खेलमा टोलीमा फर्किने सम्भावना छ। उनी बिरामीका कारण अघिल्लो खेलमा अनुपस्थित रहेका थिए।

राजस्थानका तर्फबाट यशस्वी जैसवाल, रियान पराग र जोफ्रा आर्चर प्रमुख खेलाडी रहनेछन् भने मुम्बईका रोहित शर्मा, सूर्यकुमार यादव र तिलक वर्माबाट राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ।

गुवाहाटीको पिचले यस सिजनको पहिलो खेलमा तीव्र गतिका बलरलाई सहयोग गरेको थियो। त्यसैले आजको खेलमा पनि बलरहरूको भूमिका प्रभावकारी हुने अनुमान गरिएको छ।

संसदमा उठ्यो बाँदर आतंक नियन्त्रणको कुरा(भिडियाे)

काठमाडौं । सांसद अच्युतम लामिछानेले नुवाकोटसहित देशका विभिन्न जिल्लामा बढ्दो बाँदर आतंक नियन्त्रण गर्न सरकारसँग तत्काल पहल गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाँदरको अस्वाभाविक वृद्धि कारण मानव–वन्यजन्तु द्वन्द्व तीव्र बन्दै गएको बताएका हुन्।

लामिछानेले बाँदर नियन्त्रण नगर्ने हो भने कृषिमा लगानी निरर्थक हुने अवस्था आउन सक्ने चेतावनी दिए। उनका अनुसार बाँदरको आक्रमणले कृषि उत्पादनमा ठूलो क्षति पुर्‍याएको छ भने स्वास्थ्यमा समेत नकारात्मक प्रभाव परेको छ।

उनले सरकारले बाँदर नियन्त्रणका लागि बन्द्याकरण (स्टेरिलाइजेसन) कार्यक्रम सञ्चालन कार्यविधि तयार गरिसकेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए। विशेषगरी आधुनिक र सुरक्षित ‘मिनिमल इन्वेसिव ल्याप्रोस्कोपिक’ विधिबाट प्रजनन नियन्त्रण गर्न सकिने र यो मानवीय उपाय भएको उनको भनाइ थियो।

‘नुवाकोट लगायत देशका विभिन्न भागहरूमा बाँदरको अस्वाभाविक वृद्धि भई मानव वन्यजन्तु द्वन्द्व तीव्र बन्दै गएको छ,’ उनले भने, ‘विशेषगरी मिनिमल इन्वेसिव लैपरोस्कोपिक मेथड जस्तो आधुनिक, सुरक्षित र वैज्ञानिक शल्यक्रिया विधिबाट बाँदरको प्रजनन नियन्त्रण गर्न सकिने व्यवस्था अत्यंतै प्रभावकारी र मानवीय उपाय हो।’

नेपालमा करिब पाँच लाख बाँदर रहेको अनुमान गर्दै उनले प्रति बाँदर करिब १५ सय रुपैयाँ खर्च लाग्ने जानकारी दिए र आवश्यक बजेट विनियोजन गर्न माग गरे।

उनले नुवाकोटका कृषकले उत्पादन गरेको आलुको उचित मूल्य नपाएर नष्ट गर्नुपरेको अवस्था पनि संसदमा उठाए।

त्यस्तै, श्रम संस्कृति पार्टीबाट निर्वाचित सांसद आरेन राईले पनि बाँदर आतंक नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

संसदमा बाँदरको बन्ध्याकरणका लागि बजेट छुट्ट्याउन माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अच्युतम लामिछानेले बाँदरको बन्ध्याकरणका निम्ति बजेट विनियोजन गर्न माग गरेका छन् । मंगलबार  प्रतिनिधिसभा बैठकमा उनले बाँदर नियन्त्रण नगरिए कृषिमा लगानी नगर्दा पनि हुने धारणा राखेका हुन् ।

उनले भने, ‘नेपालमा पाँच लाख बाँदर रहेको अनुमान छ । यो संख्यालाई लाग्ने बन्ध्याकरण खर्च प्रतिबाँदर रु १५ सय रहेछ । बजेट विनियोजनको जोडदार माग गर्दछु।’

सरकारले बाँदर नियन्त्रणका निम्ति बन्ध्याकरण कार्यविधि तयार गरिसकेको उनले उल्लेख गरे ।

त्यस्तै, बजेट छुट्ट्याउन समेत उनले माग गरे ।

पेट्रोलियम पदार्थको मूल्य बढेपछि कर्मचारीले पाउने इन्धन सुविधा कटौती

काठमाडौं। अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधा घटाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्र  स्थिर इन्धन सुविधा घटाउने निर्णय गरेका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेका कारण सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० र २४ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ को बुँदा नं. ४९ मा रहेका इन्धन सम्बन्धी व्यवस्थाहरू संशोधन गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज (चैत २३ गते) यो संशोधन स्वीकृत गरेका हुन् ।

उक्त संशोधन अनुसार १२५ लिटर इन्धन पाउँदै आएका सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले अब ७० लिटर पाउने छन् । १०० लिटर इन्धन पाउँदै आएका सहसचिव स्तरका पदाधिकारीहरुले अब ५० लिटर पाउनेछन् । मन्त्री तथा संवैधानिक पदाधिकारी पदाधिकारीले भने प्रचलित कानुन अनुसार नै इन्धन सुविधा पाउनेछन् ।

त्यस्तै केन्द्रीय स्तरका कार्यालयका सवारी साधनहरुका लागि यसअघि उपलब्ध हुँदै आएको इन्धन सुविधा पनि कटौती भएको छ । ३० जनासम्म कर्मचारी भएका कार्यालयले ७५ लिटर पेट्रोल र १०० लिटर डिजेल पाउँदै आएकोमा अब ३५ लिटर पेट्रोल र ५० लिटर डिजेल पाउनेछन् ।

थप ५० जना कर्मचारीका भएका कार्यालयले यसअघि ७५ लिटर पेट्रोल र १०० लिटर डिजेल पाउँदै आएकोमा कटौती गरी ३५ लिटर पेट्रोल र ५० लिटर डिजेल उपलब्ध गराइनेछ । त्यसपछिका थप प्रति १०० कर्मचारीका लागि ३५ लिटर पेट्रोल र ५० लिटर डिजल उपलब्ध हुनेछ ।

यसअघि थप १०० कर्मचारीको लागि ७५ लिटर पेट्रोल र १०० लिटर डिजेल दिइदै आएको थियो । त्यस्तै दुई पांग्रे सवारीले यसअघि प्रतिमहिना १२ लिटर पेट्रोल पाउँदै आएकोमा अब प्रतिमहिना ८ लिटर मात्र पाउनेछन् ।

सात महिनापछि आए देउवा सम्पर्कमा : हराउनुको कारण यस्तो ?

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा करिब सात महिनापछि सम्पर्कमा आएका छन्। उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै लामो समय अनुपस्थित रहनुको कारण खुलाएका हुन्।

देउवाले आफू अमेरिका गएका बेला स्वास्थ्य समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार उपचार र विश्राममा बस्नुपरेको जानकारी दिएका छन्। सोही कारण प्रदेशसभाका बैठकहरूमा उपस्थित हुन नसकेको र आगामी बैठकमा पनि सहभागी हुन नसक्ने अवस्था रहेको उनले उल्लेख गरेका छन्। स्वास्थ्यमा सुधार आएपछि नियमित रूपमा बैठकमा सहभागी हुने उनले बताएका छन्।

प्रदेशसभा नियमावली २०८० अनुसार लगातार १० बैठकमा बिनासूचना अनुपस्थित भए सदस्य पद नै जोखिममा पर्ने प्रावधान छ। देउवा हालसम्म ८ बैठकमा अनुपस्थित भइसकेका छन्। पद गुम्ने चर्चा बढेपछि उनले अमेरिकाबाटै सभामुखलाई पत्र पठाएको बताइएको छ।

देउवा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाका भतिजा हुन्। २०७९ को प्रदेशसभा निर्वाचनमा विजयी भएका उनले मुख्यमन्त्री बन्ने चाहना राखेका थिए। तर दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेपछि देउवा भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए।

पछिल्लो समय देउवा र मुख्यमन्त्री शाहबीच सम्बन्धमा दूरी बढेको बताइन्छ। कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै देउवाले अनौपचारिक रूपमा आलोचना गर्दै आएका थिए भने मुख्यमन्त्री शाहले पनि आफूलाई आन्तरिक रूपमा असहयोग भइरहेको टिप्पणी गर्दै आएका थिए।

नेपाली खेलाडी प्रिती क्याम्बोडियन क्लबमा अनुबन्दित

काठमाडौं। नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई क्याम्बोडियाको क्लब प्रेह खान रीच स्वाय रिएङ एफसीमा आबद्ध भएकी छन्। नयाँ सिजनका लागि उक्त क्लबसँग अनुबन्ध भएको जानकारी उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

उनि एपिएफ क्लबबाट खेल्दै आएकी थिइन्। गत सिजन जोर्डनको इतिहाद क्लबमा आबद्ध रहेकी थिइन्। त्यहाँ उनले जोर्डन महिला प्रो लिग र जोर्डन महिला कप दुवै उपाधि जित्न सफल भएकी थिइन्।

प्रेह खान रीच स्वाय रिएङ उनको तेस्रो विदेशी क्लब हो। यसअघि उनले भारतको किक स्टार्ट्स एफसीबाट इन्डियन वुमेन्स लिग खेलेकी थिइन्।

सन् २०२० मा सुरु भएको क्याम्बोडियन महिला लिगको पहिलो संस्करणमा उक्त क्लब संयुक्त विजेता बनेको थियो। प्रीति हाल क्याम्बोडिया पुगिसकेकी छन्।

श्रममन्त्रीको श्रीमती बीमा बोर्ड सदस्यमा पुनःनियुक्त, परिवारवादलाई प्रशय दिँदै रास्वपा

काठमाडौं । परिवारवाद र नातावादको कट्टरविरोधी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन्– दीपक साह । उनकी श्रीमती हुन्–जुनु श्रेष्ठ ।

उनलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य बीमा बोर्ड सदस्यमा पुनःनियुक्ति दिएकी छन् ।

श्रेष्ठ बीमितको तर्फबाट यसअघि पनि बोर्ड सदस्य थिइन् । तर, लगातार बैठकमा अनुपस्थित भएपछि उनी स्वतः निलम्बनमा परेकी थिइन् ।

यतिबेला भने आफ्नै श्रीमान् दीपक श्रममन्त्री भएको र उनको आग्रहअनुसार स्वास्थ्यमन्त्री मेहताले बोर्ड सदस्यमा पुनः नियुक्ति दिएपछि परिवारवादमा डुबेको भनेर विवाद भएको छ ।

विगतमा कांग्रेस, एमाले, माओवादी, राप्रपालगायत दलका नेताहरूलाई सरुवा, बढुवा र नियुक्तिमा परिवारवादको आरोप लागेको थियो ।

यही प्रवृत्तिको विरोधी दल रास्वपाले पनि राजनीतिक नियुक्तिमा परिवारवादलाई प्रशय दिएको देखिएको छ ।

बालेनलाई हर्क साम्पाङले सोधे– ‘अब २४ गतेको घटनाको चाहिँ के हुन्छ ?’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै २४ भदौको घटनाबारे गम्भीर चासो प्रकट गरेका छन् । त्यस दिन देश ध्वंश भएको थियो ।

साम्पाङले २३ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको तर विधिसम्मत पक्राउ नगर्दा अस्पतालबाटै रिहा हुन लागेको प्रसङ्ग जोड्दै सोधेका छन्, ‘अब २४ गतेको घटनाको चाहिँ के हुन्छ ?’

सरकारी संरचनाहरू सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन शीतलनिवास, प्रहरी कार्यालयहरूसँगै निजी संरचनाहरू भाटभटेनी सुपरमार्केटका आउटलेटहरू र होटल हिल्टनसँगै हायत पनि विद्रोहीहरूले खरानी पारेका थिए । चार जना प्रहरीको हत्या हुँदा कयौँ घाइते भएका थिए ।

तथ्यहरुका आधारमा हालका प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङलगायत २४ गतेको ध्वंशमा जिम्मेवार देखिन्छन् ।

भलै जेन–जी विद्रोहमा जेन-जीहरू मारिनुमा को दोषी भनेर पहिल्यै ‘माइन्डसेट’ गरेका गौरीबहादुर कार्की आयोगले बालेन, सुधनलगायत कोही कसैलाई दोषी ठहर्‍याएन ।

पटकपटक म्याद थपिँदा पनि अनुसन्धान गर्न समय अभाव भएको भन्दै बालेन सरकारलाई थप अनुसन्धानको जिम्मा दिएको छ । यसलाई एमाले, कांग्रेसको खड्का पक्षले अधुरो र प्रतिशोधी प्रतिवेदन भन्दै खारेजयोग्य भएको दाबी गर्दै आएका छन् ।

तर, सोही प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै बालेन सरकारले ओली र उनको सरकारमा गृहमन्त्री रहेका रमेश लेखकलाई पक्राउ गर्‍यो । ओली–लेखकको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट पर्दा सर्वोच्चले अब म्याद नथप्न परमादेश दियो । यसको मतलव अब ओली रिहा हुनेछन् ।

यस्तोमा साम्पाङले प्रधानमन्त्री बालेन र उनका सरकारका गृहमन्त्री सुधनलाई लक्षित गर्दै फुर्सदमा पछुताउने काम गरेको बताए ।

‘सरकार कति सफल कति असफल ? विधि नपुर्‍याउँदा उपचारपछि रिहाइ गर्नु परेको छ । अब २४ गतेको घटनाको चाहिँ के हुन्छ ? हत्तार गरेर फुर्सदमा पछुताउने काम कसैले नगरौँ । गाली गर्नेहरूले पनि पाठ पढून्,’ उनले स्टाटस लेखेका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका साम्पाङले भदौ २४ गतेको घटनालाई अनदेखा गर्न नहुने भन्दै देश जलाउनेहरूमाथि कारबाही हुनुपर्ने बताउँदै आएका छन् ।

यही १५ चैतमा बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बे त कार्की आयोगप्रति आक्रमक भएर प्रस्तुत भएका थिए ।

उनले सोधेका थिए, ‘पटकपटक म्याद थपिएको छ तर २४ गतेको घटनामा संलग्नहरूलाई कारबाही सिफारिस नगरेर समय अपुग भनिएको छ, यो कस्तो तरिका हो ? २३ गतेको घटना देख्ने अनि २४ गतेको नदेख्ने हुन्छ ?’

एमालेले त सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको नेतृत्वमा नयाँ छानबिन समिति गठनको प्रस्ताव अघि सारेको छ ।

आफ्ना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको गैरकानुनी रुपमा पक्राउ भएको र उनको रिहा माग्दै २३ र २४ गतेको घटनाको निष्पक्ष र विश्वसनीय छानबिनको माग गरेको छ ।

यस्तोमा श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले २४ गतेको घटनामा संलग्नलाई त्यसै छाड्न नहुने भन्दै कारबाहीको लागि दबाब दिँदै आएका छन् ।

तर, २४ गतेको घटनाको छानबिन हुने सम्भावना छैन । कारण, प्रधानमन्त्री बालेन र उनका गृहमन्त्री सुधनले आफूहरूमाथि छानबिन गराउँदैनन् । यद्यपि, दबाब भने बढ्दै गएको छ ।

 

तत्काल सम्झौता नभए इरानलाई समाप्त गर्ने ट्रम्पको चेतावनी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल सम्झौता नभए कडा सैन्य कदम चाल्ने चेतावनी दिएका छन्। सीएनएनका अनुसार पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले इरानविरुद्ध आवश्यक परे व्यापक सैन्य कारबाही गर्न अमेरिका तयार रहेको संकेत दिएका हुन्।

उनले इरानका भौतिक पूर्वाधार, ऊर्जा संरचना लगायतका महत्वपूर्ण संरचनालाई निशाना बनाउन सकिने बताएका छन्। ट्रम्पले छिट्टै सम्झौता नभए गम्भीर परिणाम आउने भन्दै समयसीमासमेत उल्लेख गरेका छन्। उनका अनुसार छोटो समयमै सहमति नजुटे कडा कदम चालिनेछ।

हालसम्म ट्रम्पको यस अभिव्यक्तिबारे इरानले औपचारिक प्रतिक्रिया दिएको छैन।

क्रिप्टोकरेन्सी कारोबार गर्ने ४ जना पक्राउ

काठमाडौं। क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्राप्त सूचनाका आधारमा सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

गैरकानुनी रूपमा क्रिप्टोकरेन्सी कारोबार भइरहेको जानकारीपछि अनुसन्धान अघि बढाइएको एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए । पक्राउ पर्नेमा चितवन रत्ननगरका ३२ वर्षीय सवन अधिकारी, काठमाडौंका २५ वर्षीय आशिष अधिकारी, चितवनका ३२ वर्षीय रबिन जिआर र ललितपुरका ३६ वर्षीय अनित्य शाक्य रहेका छन्।

प्रहरीले उनीहरूबाट करिब ३० लाख रुपैयाँ नगद बरामद गरेको छ। साथै क्रिप्टोकरेन्सी कारोबारमा प्रयोग हुने विद्युतीय उपकरण, ६ वटा मोबाइल फोन र एक म्याकबुक पनि जफत गरिएको छ।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबार तथा दफा १६२ (क) अनुसार अभौतिक मुद्रा प्रयोगसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक दिउँसो १ बजेका लागि तय गरिएको हो ।

यो बैठक आकस्मिक रूपमा बोलाइएको बताइएको छ। बैठकको एजेन्डा भने हालसम्म सार्वजनिक गरिएको छैन।

यसअघि गृहमन्त्री सुधन गुरुङ काभ्रेको रोशी खोला क्षेत्रको भ्रमणमा जाने तयारीमा थिए। तर आकस्मिक बैठकका कारण उनको भ्रमण स्थगित भएको हो । बैठक सम्पन्न भएपछि मात्र उनी काभ्रे जाने बताइएको छ।

टिकापुरमा सर्वसाधारणलाई सर्प पहिचान सम्बन्धी तालिम

टीकापुर। कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई समेत सर्प पहिचान गर्ने तरिकाबारे तालिम सञ्चालन गर्न थालिएको छ । नगरपालिकाले नगर प्रहरी, बडघर, टोल विकास संस्थाका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा युवालाई तालिम दिन थालिएको हो।

सर्वसाधारणलाई विषालु र अविषालु सर्प पहिचान गर्ने, सर्पको टोकाइबाट बच्ने उपाय, डसी हालेमा मानिस र सर्प उद्धार कसरी गर्ने भन्नेबारे तालिम दिन थालिएको छ।

टीकापुर नगरपालिका-१ ले चाुल वर्षमा विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरेको थियो । वडाले गर्मीयाम सुरु भएकाले सर्पदंशको जोखिमबाट बच्न सर्वसाधारणलाई पूर्वतयारी गर्न सहज होस भनी १०० वटा टोल विकास संस्था, बडघर, सामुदायिक प्रशिक्षकलाई सर्प पहिचानबारे तालिम दिन थालेको हो ।

टीकापुर नगरपालिका तराई क्षेत्र भएकाले विषालु सर्पको जोखिम छ । सर्पले डसेको मानिस आत्तिने र कतिपय अविषालु सर्प पनि हुने भएकाले सर्प उद्धार गर्ने जनशक्ति नभएकाले उद्धारकर्ता तयार गर्न थालिएको हो । हरेक नागरिकलाई सर्पको डसाइबाट जोगिन सचेतना फैलाउने र सर्प चिन्न सहज होस् भनी प्रधानाध्यापक, टोल विकास संस्थालगायतलाई तालिम दिइएको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिए।

यहाँस्थित टीकापुर अस्पतालमा सर्पदंशको उपचार सेवा छ । अस्पतालका मेडिकल रेकर्डर तथा सूचना अधिकारी पदमराज भट्टका अनुसार अस्पतालतमा चालु आर्थिक वर्षमा हालसम्म ४७ जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन् ।

नगरपालिकाले २० जनालाई तालिम दिएपछि दुर्घटना बिमा गरेर, हरेक वडालाई पायक पर्ने गरी उद्धारमा स्वयमसेवकका रुपमा परिचालन गर्ने वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिए ।

ओली लेखकको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

यद्यपि अदालतले उनीहरूको म्याद थप नगर्न परमादेश जारी गरेको छ। ओली र लेखक दुवैको हिजो मात्र तेस्रोपटक ५ दिनका लागि म्याद थप गरिएको थियो।

सर्वोच्च अदालतको आदेशअनुसार अब थप म्याद लिन पाइने छैन र ५ दिनभित्र मुद्दा अदालतमा पेश गर्नुपर्नेछ।

यदि उक्त समयभित्र मुद्दा पेश नभएमा उनीहरूलाई साधारण तारेख वा धरौटीमा रिहा गर्नुपर्ने अवस्था रहनेछ।

बालेन सरकारले नबिर्सियोस् रास्वपाको १०० बाचा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावअघि १०० वटा बुँदा समेटेर वाचापत्र सार्वजनिक गरेको थियो। जुन वाचापत्रकै आधारमा रास्वपाले २१ फागुनको निर्वाचनमा करिब दुई तिहाइ (१ सय ८२ सिट) मत प्राप्त गर्यो।

एकल बहुमत प्राप्त गरेको रास्वपाले यही चैत १३ गते पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन गर्यो। सरकार गठन भएपछि वाचापत्रको आधारमा काम गरोस् भन्ने आम नागरिकको साझा अपेक्षा हुन्छ। हामीले सरकार गठन भएको १० दिनपछि रास्वपालाई वाचापत्र स्मरण गराउने जमर्को गरेका छौँ।

हुन त सामान्यतया सरकार बनेको १०० दिनसम्मलाई ‘हनिमुन पिरियड’ भन्ने गरिन्छ। अर्थात्, हनिमुन पिरियडमा सरकारका कामकारबाही हेर्नुपर्ने र त्यसपछि मात्रै सरकारको आलोचना गर्ने, प्रश्न उठाउने र १०० दिनको कामको मूल्यांकन गर्ने भन्ने प्रचलन रही आएको छ।

तर, रास्वपा सभापति रवि लामिछाने आफैंले ‘हामीलाई हनिमुन पिरियड चाहिँदैन, पहिलो दिनबाटै हाम्रा काम नियाल्नुस्’ भनिसकेको अवस्थामा सरकारका कामकारबाही हेर्न ‘हनिमुन पिरियड’ नै कुर्नुपर्छ भन्ने भाष्य लागू हुँदैन।

आउनुस्, नियालौँ-१०० बुँदा समेटिएको रास्वपाको चुनावी वाचापत्र:

१. दलित समुदायले नेपालको सामाजिक संरचना, राज्यका कानुन, नीति तथा व्यवहारका कारण पुस्तौँदेखि अन्याय, अपमान, शोषण र बहिष्करण भोग्दै आएको छ। परिणामस्वरूप यो समुदायमा गरिबीको मात्रा र गहिराइ अत्यन्त उच्च रहेको छ। विशेष सीप, क्षमता र सम्भावना बोकेका समुदायलाई प्रोत्साहन र अवसर दिनुपर्नेमा, उल्टै अछूत व्यवहार र संरचनागत अवरोध खडा गरिँदा समग्र समाज नै सीप, प्रविधि र आधुनिकीकरणको यात्रामा पछि परेको यथार्थ हामी स्वीकार गर्छौं। यस ऐतिहासिक यथार्थलाई आत्मसात गर्दै नयाँ सरकार प्रमुखको पहिलो सम्बोधनमै दलित तथा पिछडिएका समुदायहरूमाथि भएका जातीय विभेद, अन्याय र बहिष्करणप्रति नेपाल राज्यको तर्फबाट औपचारिक रूपमा क्षमायाचना गछौँ। संरचनात्मक विभेदको अन्त्यका लागि अझ ठोस कानुनी, नीतिगत र संस्थागत सुधार अघि बढाउँछौं।

२. २०८२ को भाद्र २३ र २४ गते जेन-जी आन्दोलनमा भएको बल-प्रयोग लगायतका घटनाको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख हुने सुझाव र सिफारिसलाई कार्यान्वयन गर्नेछौं।

३. वि.सं. २०४६ सालदेखि महत्वपूर्ण सार्वजनिक पदमा आसीन व्यक्तिहरूको सम्पत्ति पारदर्शी र कानुनी प्रक्रियाअनुसार छानविन गर्नेछौं। अवैध रूपमा आर्जित प्रमाणित सम्पत्ति जफत तथा राष्ट्रियकरण गर्न स्पष्ट कार्यविधि तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्छौं।

४. सार्वजनिक सेवा लाइनमा नभई, अनलाइनमा हुनेछ। राष्ट्रिय अभिलेख र डिजिटल सुशासन सुदृढीकरण गर्न नेपालमा बसोबास गर्ने सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराई, एकीकृत राष्ट्रिय डाटाबेस निर्माण गर्छौ। यसमार्फत राष्ट्रिय अभिलेख व्यवस्थालाई सुदृढ बनाउँदै सेवा प्रवाह, सामाजिक सुरक्षा र सार्वजनिक नीति कार्यान्वयनलाई तथ्यांक-आधारित बनाइ सुशासनको भरपर्दो आधार निर्माण गर्छौं। सरकारी सेवा लिनका लागि कार्यालय-कार्यालय धाउनुपर्ने, लाइन बस्नुपर्ने, मध्यस्थको भर पर्नुपर्ने र कर्मचारीसँग अनावश्यक प्रत्यक्ष भेटघाट गर्नुपर्ने हैरानीलाई अन्त्य गर्छौं। पारदर्शिता, पहुँच र उत्तरदायित्व सुनिश्चित गर्न ‘डिजिटल सर्भिस डेलिभरी’ को समयबद्ध कार्ययोजना स्वीकृत गरी चरणबद्ध र कड…

५. कुनै पनि प्रकारका धातु संकलन निर्माण नगरी सबै प्रतिबद्दता व्यक्त गर्छौं। जनताले तिरेको करबाट तलव-भत्ता लिएर राज्यका निकायहरूका विभिन्न ओहोदामा बसेर राज्य र संविधानप्रति नभई आफ्नो मातृ राजनीतिक दलप्रति निष्ठा राख्दै काम गर्नु राष्ट्रप्रति अनैतिक र दण्डनीय कुरा हो भन्ने हाम्रो स्पष्ट मान्यता छ। राज्य संयन्त्र कुनै दलको शाखा कार्यालय होइन यो सम्पूर्ण नागरिकको साझा संस्था हो। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आएपछि बित्तिय राज्यका बिभिन्न निकायहरू-कर्मचारीतन्त्र, शिक्षण सेवा, स्वास्थ्य, सुरक्षा निकाय, अदालत तथा सवैधानिक अंगहरू लगायत राज्यको सेवा-सुविधा उपभोग गर्ने सबैको दलिय आबद्धता अन्त्य गर्न आवश्यक कानुनी र संस्थागत व्यवस्था कार्यान्वयन गर्छौं।

६. सरकारी सेवाभित्रको दलगत ट्रेड युनियन व्यवस्था खारेज गरी प्रशासनलाई पूर्ण रूपमा पेशागत, तटस्थ र उत्तरदायी बनाउँछौ। सूचना प्रविधिमा आएको तीव्र परिवर्तनलाई आत्मसात गर्न सक्ने क्षमता, दक्षता र प्रतिस्पर्धात्मक सोच भएको ‘थोरैले धेरै सेवा’ दिने आधुनिक निजामती सेवा निर्माण गर्नेछौं।

७. केन्द्रमा अनावश्यक रूपमा थुप्रिएको जनशक्तिलाई सेवा प्रवाह हुने प्रत्यक्ष विन्दु (सर्भिस डेलिभरी पोइन्ट) मा पुनः व्यवस्थित गर्नेछौं। भत्ता लगायतका असङ्गत अतिरिक्त सुविधाहरूको सट्टा कर्मचारीको आधारभूत वेतनलाई उचित, नियमित र समय सापेक्ष परिमार्जन गरि कार्यान्वयन गर्नेछौं। नतिजामूलक प्रशासन सुनिश्चित गर्न स्पष्ट कार्यसम्पादन सूचकाङ्क, मूल्याङ्कन, पदोन्नति तथा वृत्ति विकासको व्यवस्था प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निजामती सेवा विधेयक ल्याउनेछौं।

८. संस्थागत संज्ञान कायम राख्न र प्रशासनिक स्थिरताका लागि कर्मचारीलाई उनीहरूको विषय विज्ञता भएको क्षेत्रमा मात्र न्यूनतम अवधि राख्ने गरी ‘स्वायत्त सरुवा बोर्ड’ मार्फत पूर्वानुमानयोग्य सरुवा प्रणाली लागू गर्नेछौं। कर्मचारीको जीवनयापनका लागि पर्याप्त हुने गरी आधारभूत तलबलाई उचित र समय सापेक्ष परिमार्जन गर्नेछौं। निजामती सेवालाई समावेशी र समन्यायिक बनाउन सबै वर्ग र क्षेत्रको समान प्रतिनिधित्व सुनिश्चित गर्दै ‘थोरैले धेरै सेवा’ दिने आधुनिक र उत्तरदायी निजामती प्रशासन निर्माण गर्नेछौं।

९. हामी परम्परागत र झन्झटिलो तहगत टिप्पणी प्रथालाई पूर्णतः अन्त्य गरी निर्णय प्रक्रियालाई छिटो, छरितो र प्रविधिमैत्री बनाउनेछौं। फाइल घुमाउने झन्झटिलो विधिलाई घटाउन ‘प्रक्रिया लेखाजोखा’ गर्नेछौं र प्रत्येक फाइलका लागि निश्चित समयसिमा तोकी सो अवधिभित्र निर्णय नभएमा फाइल स्वतः अनुमोदन हुने वा जिम्मेवार अधिकारी जबाफदेही हुनुपर्ने प्रणाली लागू गर्नेछौं। कागजमा आधारित प्रशासनिक प्रक्रिया चरणबद्ध रूपमा अन्त्य गर्न सरकारी निर्णय, टिप्पणी तथा स्वीकृतिहरू tippani.gov.np मार्फत र परिपत्र तथा आधिकारिक निर्देशनहरू paripatra.gov.np बाट जारी हुने व्यवस्थाको थालनी गर्नेछौं। डिजिटल हस्ताक्षर प्रणालीलाई कानुनी रूपमा अनिवार्य गर्नेछौं। जन्म दर्ता, सामाजिक सुरक्षा, लाइसेन्स, व्यवसाय दर्ता लगायतका सेवाहरू सहज, छिटो र पारदर्शी रूपमा प्राप्त गर्न सकिने पद्धति बनाउनेछौं।

१०. सरकार सम्लेको तीन महिनाभित्र राष्ट्रिय सहमति कायम गर्न हेतुले संविधान संशोधनका प्रस्तावहरूलाई ‘बृहत पत्र’ तयार गर्नेछौं। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रारम्भिक छलफलका लागि पेश हुने विषयमा निम्न अवधारण न्यूनतम गर्नेछौं: प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद्, संसद् मान्ने नहुने व्यवस्था, गैर-दलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक संरचना।

११. अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, संवैधानिक परिषद ऐन, २०४६, र न्याय परिषद् ऐन, २०७३ लाई संस्थागत क्षमता, क्षेत्राधिकार, नियुक्ति प्रक्रिया, कर्मचारी छनोट, लगायतमा संशोधनसार सच्यान, सक्षम र उत्तरदायी संवैधानिक निकायहरूको संस्थागत सुशासन सुदृढ गर्नेछौं। मन्त्रिपरिषद्ले गर्ने ‘नीतिगत निर्णय’को स्पष्ट परिभाषा गर्नेछौं। निर्णय प्रक्रियालाई पारदर्शी र जबाफदेही बनाउन कुनै पनि नीति वा कानुन सीमित स्वार्थ समूहको लाभका लागि बनाइने प्रवृत्तिको अन्त्य गर्दै, जनतालाई पूर्ण रूपमा सूचित गर्न सबै विधेयकको वित्तीय पाटो (खर्च) र नियामकीय प्रभाव विश्लेषण गरिने प्रक्रियाको थालनी गर्नेछौं।

१२. सङ्क्रमणकालीन न्यायका बाँकी काम टु‌ङ्ग्याउन र ‘न्यायिक कोष ऐन, २०४६’ लाई समयानुकूल कार्यान्वयन गर्न तत्काल काम थाल्ने छौं।

१३. उच्च अदालत तथा सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति प्रक्रियामा दलगत प्रभाव, आन्तरिक प्रतिस्पर्धाको अभाव तथा भागबन्डा-आधारित सिफारिस जस्ता प्रवृत्तिको अन्त्य गर्दै मेरिटोक्रेसी र प्रतिस्पर्धात्मक प्रणालीमा आधारित नीतिगत व्यवस्था अवलम्बन गर्नेछौं। योग्यताक्रमका आधारमा छनोट भएका व्यक्तिहरूलाई उच्च अदालत तथा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् समक्ष सिफारिस गर्ने व्यवस्था गर्नेछौं। साथै, प्रचलित कानुन र संविधानको मर्मअनुसार आरक्षण तथा समावेशीताको व्यवस्था सुनिश्चित गर्नेछौं।

१४. नागरिकलाई न्यायिक पारदर्शिताको प्रत्यक्ष अनुभव गराउन अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने विकल्पबारे अध्ययन गरी उचित प्रबन्ध मिलाउनेछौं।

१५. राष्ट्रिय मान्यता-प्राप्त राजनीतिक दलहरूलाई जनमतका आधारमा सार्वजनिक कोषबाट वार्षिक अनुदान दिने व्यवस्था गर्नेछौँ। बारम्बार एउटै व्यक्ति निर्वाचित हुने प्रवृत्ति, पैसाको दुरुपयोग र अस्वस्थ प्रतिस्पर्धाले लोकतन्त्र र सुशासनमा गम्भीर असर पुयाएकोले राजनीतिक दलसम्बन्धी ऐन, प्रतिनिधिसभा निर्वाचन ऐन तथा अन्य आवश्यक कानुन संशोधन गर्नेछौँ। पुस्तान्तरण सुनिश्चित गर्न पार्टी प्रमुख पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गर्नेछौं।

१६. सार्वजनिक पद सम्हाल्नुअघि हामी आफ्नो सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्नेछौं। निर्वाचनअघि र कार्यकाल पूरा भएपछि हामी र हाम्रो परिवारको सम्पत्तिमा कति परिवर्तन आयो त्यसको स्वतन्त्र लेखा परीक्षण गराएर जनतासमक्ष सार्वजनिक गर्नेछौं। स्वार्थको द्वन्द्व हुने कुनै पनि निर्णय, नीति वा कानुन निर्माण प्रक्रियामा आफू वा आफ्नो व्यवसायलाई फाइदा पुग्ने गरी संलग्न नहुने स्पष्ट ग्यारेन्टी गछौँ। परिवारवादको अन्त्य गर्न आफ्ना आफन्तलाई स्वकीय सचिव जस्ता पदमा नियुक्त गर्न नपाउने व्यवस्था गर्छौं।

१७. संघीय मन्त्रालयहरूको सङ्ख्या १६ मा सीमित गर्दै ‘दिगो मन्त्री’ र विशेषज्ञतामा आधारित कर्मचारी प्रशासनको नयाँ मानक स्थापित गर्नेछौं। प्रधानमन्त्री कार्यालयलाई केवल प्रशासनिक निकाय मात्र नभई अन्तर-मन्त्रालय समन्वय, जलवायु परिवर्तन र ठूला आयोजनाहरूको प्रत्यक्ष अनुगमन गर्ने ‘नतिजा केन्द्र’ का रूपमा रूपान्तरण गर्नेछौं। नीति निर्माणमा ‘नियामकीय प्रभाव विश्लेषण’ लाई अनिवार्य गर्नेछौं।

१८. राष्ट्रिय योजना आयोगको परम्परागत स्वरूपलाई नयाँ युग सुहाउँदो नीति शोध, तथ्याङ्क र अनुगमनमा केन्द्रित ‘दिगो विकासको ढोका’मा लैजानेछौं। राष्ट्रिय तथ्याङ्क कार्यालयलाई तथ्याङ्क उत्पादनको केन्द्रीय र स्वायत्त निकायका रूपमा सुदृढ बनाउँदै यसको संरचनागत क्षमता, प्रविधि, जनशक्ति तथा अनुसन्धान क्षमतामा व्यापक सुधार गर्नेछौं। नियमित, विश्वसनीय र पर्याप्त तथ्याङ्कलाई सार्वजनिक नीतिनिर्माण तथा निर्णय प्रक्रियाको आधार बनाउनेछौं। नीति, नियम तथा कार्यक्रम आफै निर्माण गर्ने, बजेट आफै परिचालन गर्ने र सोही निकायले तथ्याङ्क सङ्कलन गरी मूल्याङ्कन गर्ने प्रचलन स्वभाविक विरोधाभासपूर्ण हुने भएकोले शिक्षा, कृषि लगायतका महत्वपूर्ण क्षेत्रहरूको तथ्याङ्क उत्पादन, विश्लेषण तथा प्रकाशन स्वतन्त्र निकायमार्फत गरिने व्यवस्था गर्नेछौं। नीति अनुसन्धान प्रतिष्ठानलाई पनि पुनर्संरचना गर्नेछौं।

१९. आर्थिक उन्नयनको हाम्रो मूल आधार उत्पादकत्वमा निरन्तर वृद्धि हुनेछ। सीमित समय, पूँजी र साधन स्रोतको अधिकतम उपयोग गर्दै उच्च गुणस्तरीय, प्रतिस्पर्धी र दिगो उत्पादन हासिल गर्नु नै दीर्घकालीन समृद्धिको मार्ग हो भन्नेमा हामी स्पष्ट छौं। यो लक्ष्य जोखिम वहन गर्न तत्पर निजी लगानी र सक्षम, पारदर्शी तथा सहजीकरणमुखी सार्वजनिक भूमिकाको प्रभावकारी समन्वयबाट मात्र सम्भव छ। निजी क्षेत्रले रोजगारी सृजना, वस्तु तथा सेवाको आपूर्ति, राजस्व योगदान र लगानीयोग्य पूँजी प्रवाहमा अग्रणी भूमिका खेल्ने र सरकारको भूमिका नियामक तथा सहजीकरणकर्ताको भएको स्पष्ट पार्दछौं। रेन्ट-सिकिङ, नीतिगत दोहन तथा कृत्रिम अवरोधहरूको अन्त्य गर्दै नवप्रवर्तन, उद्यमशीलता र स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने सर्वाधिक उद्यममैत्री व्यावसायिक वातावरण निर्माण गर्नु हाम्रो स्पष्ट प्रतिबद्धता हो। नेपालले युवा-केन्द्रित जनसांख्यिक लाभांशलाई अवसरमा रूपान्तरण गर्दै आगामी १०-१५ वर्षभित्र संरचनात्मक आर्थिक रूपान्तरण हासिल गर्न नसके दीर्घकालीन रूपमा न्यून आय जालमा फस्ने यथार्थप्रति हामी सजग छौं। त्यसैले उत्पादकत्व वृद्धि, सीप विकास, पूँजी निर्माण र प्रविधिमा आधारित औद्योगिकीकरणलाई राष्ट्रिय प्राथमिकताको रूपमा अघि बढाउँछौं।

२०. कार्टेल, अस्वस्थ प्रतिस्पर्धा, रेन्ट-सिकिङ तथा नीतिगत दोहनजस्ता विकृतिहरू नियन्त्रण गर्न राजनीतिक हस्तक्षेपबाट मुक्त, पेशागत, पारदर्शी र शक्तिशाली नियामकीय निकायहरूको निर्माण तथा सुदृढीकरण गर्नेछौं। राजनीति र नियमनबीचको अनुचित साँठगाँठ अन्त्य गर्दै नवप्रवर्तन, निष्पक्ष प्रतिस्पर्धा र सामाजिक उत्तरदायित्वलाई सन्तुलित रूपमा प्रवर्द्धन गर्ने सामाजिक बजार अर्थतन्त्रको रूपरेखाभित्र नेपालको यथार्थअनुकूल, सन्तुलित र दीगो आर्थिक मोडेल अवलम्बन गर्नेछौं। सामाजिक न्यायको दायरा राष्ट्रको आर्थिक सामर्थ्य र दीगो लोककल्याणकारी राज्यको आकारसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ भन्नेमा हामी स्पष्ट छौं। समग्र विकासको मापन केवल आय वृद्धिबाट होइन, रोजगारी विस्तार, सामाजिक सामञ्जस्य, अवसरको समानता र पर्यावरणीय सन्तुलनमा देखिने गुणात्मक सुधारबाट हुनुपर्छ भन्ने हाम्रो विश्वास छ। निजी क्षेत्रको गतिशीलता, नवप्रवर्तन र सृजनशीलतालाई प्रवर्द्धन गर्न उदार अर्थनीति र सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात, आवास तथा सामाजिक सुरक्षा मार्फत राख्ने आयको सामाजिकतापूर्ण पुनर्वितरण यी दुई आधारलाई सन्तुलित रूपमा संयोजन गर्नेछौं। अबको लोककल्याणकारी राज्य लाभ वितरणमा मात्र सीमित नभई वृद्धिको स्वरूपलाई नै रूपान्तरण गर्दै दीर्घकालीन आर्थिक, सामाजिक र पर्यावरणीय सन्तुलनको आधार निर्माण गर्नेछौं।

२१. आर्थिक प्रगतिमा बाधक रहेका वा असामाजिक बनेका करिब २ दर्जन ऐनहरू खारेज गर्नेछौं। झन्झटिला ऐन र तजबिजी प्रक्रियाहरू भूकम्पबाट मुक्त खारेज वा सुधार गरेर उत्पादनको लागत घटाउने, व्यावसायिक वातावरण (डुइङ्ग बिजनेस) सुधारने र आर्थिक वृद्धिका प्राथमिकता क्षेत्रहरूमा स्वदेशी एवं प्रवासी लगानी आकर्षित गर्नेछौं। नेपाललाई ‘सम्मानजनकमध्यम आय भएको मुलुक’ बन्न अर्को पाँच वर्ष औसत आर्थिक वृद्धि दर वार्षिक ७ प्रतिशत (स्थिर मूल्यमा) कायम गरेर जग बसाउनेछौं। यसका आधारमा पाँचदेखि सात वर्षभित्रै (प्रचलित मूल्यमा) प्रतिव्यक्ति आय ३००० डलर नाघ्ने र अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पुग्ने लक्ष्य लिनेछौं। कुन ऐन र नियमावली खारेज वा संशोधन गर्ने भन्ने निर्णयको आधार स्वतन्त्र विश्लेषण, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन २०८१, एवं नेपाल उद्योग परिसंघ र उद्योग-वाणिज्य महासंघका सुझाव लिनेछौं।

२२. सामाजिक न्यायसहितको उदार अर्थनीति अवलम्बन गर्ने दल भएकोले निजी क्षेत्रसँगको उन्नत समझदारी (कम्प्याक्ट) का आधारमा राजश्व नघट्ने प्रत्याभूति सहित सबै करहरूको बोझ घटाउनेछौं। कर कानून तथा नियमहरू भूतप्रभावी ढङ्गले लगाउने छैनौं। नियोजित कर छली रोक्छौं। मध्यम वर्गीय परिवार र बालबालिकाको उज्ज्वल भविष्यका लागि हामीले ‘पारिवारिक भार’ का आधारमा आयकर (तलबमा लाग्ने कर) को सीमा पुनरावलोकन गर्ने नीति अवलम्बन गर्नेछौं। शिक्षा, स्वास्थ्य तथा पालनपोषण खर्चबापत निश्चित रकम करयोग्य आयबाट घटाउन पाउने कानुनी व्यवस्था गर्दै संस्थागत बचत कार्यक्रमहरूलाई प्रश्रय दिनेछौं।
२३. भारतीय रुपैयाँसँग तीन दशकदेखि स्थिर विनिमय दर कायम रहेकोमा विशिष्ट अन्तर्राष्ट्रिय प्राज्ञहरू समेतको सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोकन गर्नेछौं।
२४. स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन र सहजीकरणका लागि एकै स्थानमा फाइल पेश गरेपछि अन्य निकाय धाउन नपर्ने व्यवस्था सहित वान-स्टप सेवा केन्द्रको कार्यान्वयन गर्छौँ। उक्त निकायले परियोजना स्थल उपलब्ध गराउने, वन तथा वातावरणसम्बन्धी स्वीकृति प्रक्रिया सहज र समयबद्ध रूपमा पूरा गराउने, तथा स्थानीय तह र सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्नेछ। साथै, लगानी सहजीकरणका लागि आवश्यक कानुन, नियमावली तथा कार्यविधिहरू निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्छौँ। डिजिटल माध्यमबाट सजिलो, द्रुत र निःशुल्क रूपमा व्यवसाय दर्ता गराउँछौं।
२५. राजस्व न्यायाधिकरणको संरचना सुधार गर्दै राजस्व अनुसन्धान विभाग खारेज गर्नेछौं। भ्रष्टाचार नियन्त्रण गर्न राजस्व अनुसन्धान र अनुगमन गर्न चार्टर्ड एकाउन्टेन्टहरूको बाहुल्य रहेको दक्ष पेशागत इकाइ निर्माण गर्नेछौं।
२६. सार्वजनिक संस्थानहरूको वर्गीकरण गरी केहीलाई गाभ्ने, केही निजी-सार्वजनिक मोडलमा लाने, केहीमा रणनीतिक साझेदार भित्राउने, र अन्यलाई विकेन्द्रीत गर्ने, र केहीको अचल सम्पत्तिको स्वामित्व सरकारको नाम ल्याउने विकल्पमा अघि बढ्नेछौं। संस्थान सुधार र समग्र खर्च कटौतीको प्रारम्भिक आधार ‘सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७९ को प्रतिवेदन’ हुनेछ।
२७. सार्वजनिक आयोजनाहरूलाई स्पष्ट उद्देश्य, प्राथमिकता, सुनिश्चित बजेट, निश्चित समय सीमा, योग्य तथा पर्याप्त मानवीय स्रोत र परिणाममूलक लक्ष्यसहित लक्ष्य – केन्द्रित कार्यशैली (मिसन मोड) मा कार्यान्वयन गर्नेछौं। आयोजना सम्पन्न र गुणस्तरीय रूपमा सम्पन्न गर्न, आयोजना सम्पन्न नभएसम्म प्रमुख तथा खरिदका कर्मचारीको सरुवा नगर्ने व्यवस्थाको सरुवा नगर्ने व्यवस्था गर्नेछौं ।
नेपालको आर्थिक रूपान्तरण
२८. नेपालको आर्थिक रूपान्तरणका लागि विगत १२ वर्षदेखि गतिहीन रहेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई आगामी २ वर्षभित्र अनिवार्य सम्पन्न गर्ने गरी ‘नतिजामुखी समयवद्ध कार्ययोजना’ लागू गरिनेछ। यस अन्तर्गत आयोजना प्रमुखको कार्यसम्पादन सम्झौता, जग्गा प्राप्ति र वन क्षेत्रको अवरोध हटाउन विशेष कानुनी सहजता, र मुआब्जा वितरणमा ‘डिजिटल ट्रयाकिङ’ सुनिश्चित गरिनेछ। अबको ५ वर्षमा भौतिक पूर्वाधारमा मात्र सीमित नभई डायस्पोराको पुँजी र ज्ञान आकर्षित गर्दै अन्तर्राष्ट्रिय स्तरको खेलकुद सहर, उच्च शिक्षा अनुसन्धान केन्द्र, विशिष्टीकृत स्वास्थ्य सेवा, र सांस्कृतिक पर्यटन गरी १० वटा नयाँ विविधीकृत क्षेत्रका आयोजनाहरूलाई विस्तृत परियोजना प्रतिवेदन र लागत सुनिश्चितता पछि ‘राष्ट्रिय गौरव’को सूचीमा समावेश गरी ‘फास्ट ट्रयाक’ मोडेलमा अगाडि बढाइनेछ।
२९. सहकारी र लघुवित्त क्षेत्रको अनियन्त्रित र फितलो नियमनलाई विस्थापन गरी सम्पूर्ण गैर-बैंकिङ्ग वित्तीय क्षेत्रलाई नेपाल राष्ट्र बैंकको प्रत्यक्ष र शक्तिशाली सुपरिवेक्षण प्रणालीभित्र ल्याउनेछौं। ५० करोडभन्दा बढीको कारोबार गर्ने सहकारी र लघुवित्तहरूलाई अनिवार्य रूपमा राष्ट्र बैंकको कडा नियमन र ‘घ’ वर्गका वित्तीय संस्था सरहको मापदण्डमा आबद्ध गराउनेछौं भने साना संस्थाहरूको व्यवस्थित सञ्चालनका लागि एक उच्चाधिकार सम्पन्न ‘दोस्रो तहको नियामक’ गठन गर्नेछौं।
३०. कर्जा प्रवाहमा हुने दोहोरोपन र ‘ऋणको पासो’ अन्त्य गर्न सहकारी र लघुवित्त दुवैलाई ‘कर्जा सूचना केन्द्र’ सँग जोडी वास्तविक क्षमताका आधारमा मात्र कर्जा प्रवाह भएको सुनिश्चित गर्नेछ। ब्याजदरलाई ‘बेस रेट’ सँग जोडेर केही प्रतिशत मात्र प्रिमियम लिन पाउने स्वचालित प्रणाली लागू गरी चर्को ब्याज र अनुचित सेवा शुल्कको पूर्णतः अन्त्य गर्नेछौं। साथै, सहकारी र लघुवित्तलाई अनुत्पादक घरजग्गा क्षेत्रबाट हटाएर उत्पादनशील, विना-धितो सामूहिक जमानी र स्थानीय सीपमा आधारित उद्यमशील कर्जामा केन्द्रित गरिनेछ।
३१. आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्नेछौं। बचतकर्ताहरूको कमाइ सुरक्षित गर्न राज्यको तर्फबाट एक ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्नेछौं, जसले सङ्कटग्रस्त संस्थाहरूका बचतकर्तालाई प्राथमिकताका आधारमा साना बचतकाहीँ देखि सुरु गरि भुक्तानीको दिने व्यवस्था गर्नेछ। हाम्रो उद्देश्य बचतकर्ताहरूलाई जेल हाल मात्र होइन, बरु संचालकहरूको पैसा फिर्ता गराउनु हो। त्यसैले, ‘सुनेर होइन, सुनेर’ समाधान गर्ने नीति अनुरूप यदि कुनै सहकारी वित्तीय संस्थाका संचालक वा व्यवस्थापन पक्ष बचतकर्ताको रकम फिर्ता गर्न तयार छन् र उनीहरूसँग भरपर्दो स्रोत एवं योजना छ भने, ‘फिलाप’ का लागि कानुनी बाटो प्रशस्त गरिदिनेछौं। यस्तो अवस्थामा बचत फिर्ताको पूर्ण ग्यारेन्टी र समय सीमा तोकेर उनीहरूलाई थुना बाहिर रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्न अवसर दिइनेछ।
३२. मिटर-ब्याज र अनुचित लेनदेन ‘आर्थिक अपराध’ का रूपमा परिभाषित गर्दै आगामी पाँच वर्षभित्र यसका सबै जालोहरूलाई कानुनी र संरचनात्मक रूपमा ध्वस्त पार्नेछौं। विगतमा गरिएका सबै अवैध ‘तमसुक’ र कपाली तमसुकहरूको न्यायिक छानबिन गरी पीडितहरूको जग्गा र सम्पत्ति फिर्ता गराउन एक अधिकार सम्पन्न ‘द्रुत न्याय कार्यदल’ गठन गर्नेछौं। जग्गाको हक हस्तान्तरण र ठूला नगद लेनदेनलाई अनिवार्य रूपमा स्थानीय तहको ‘डिजिटल प्रमाणीकरण’ प्रणालीमा आबद्ध गरी नक्कली कागजात खडा गर्ने सबै प्वालहरू बन्द गरिनेछ। यससँगै, विपन्न र सीमान्तकृत नागरिकका लागि बिना थितो सहुलियतपूर्ण ऋण र बैंकिङको पहुँचलाई टोल-टोलमा विस्तार गरी मिटर-ब्याजमुक्त नेपाल र वित्तीय सार्वभौमिकता सुनिश्चित गर्नेछौँ।

३३. पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्नेछौं। धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्दै पर्याप्त जनशक्ति, कार्यक्षमता अभिवृद्धि तथा आवश्यक स्वायत्तता दिनेछौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पुनःसंरचना गरी निजी क्षेत्रको सेयर सहभागिता बढाउनेछौं र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्नेछौं। पूँजी बजारको तरलता, पारदर्शिता र जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि गर्न, स्पष्ट कानूनी संरचना र कडा नियमनसहित इन्ट्राडे कारोबार, शर्ट सेलिङ तथा फ्युचर्स, अप्सनलगायत डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गरी नेप्सेलाई अन्तरराष्ट्रिय स्तरको बनाउनेछौं। इनसाइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्नेछौँ। आइपीओ प्रणालीमा आमूल सुधार गरी निष्पक्ष बाँडफाँड, बुक बिल्डिङ सुधार र समयमै सूचीकरण गर्ने व्यवस्था मिलाउनेछौँ।

३४. संस्थागत लगानीकर्ताको विस्तार गर्न पेन्सन फन्ड, बीमा, म्युचुअल फन्ड, आदि संस्थाहरूलाई सक्रिय लगानी गर्न प्रोत्साहन र सहजीकरण गर्नेछौँ। पूँजी बजार कर नीति स्थिर र लगानीमैत्री हुनेछन् भने ऋण बजार र बन्ड बजारको विकास गर्न सरकारी, स्थानीय तह तथा निजी क्षेत्रका बन्डलाई सक्रिय बनाई पूर्वाधार विकासका लागि इन्फ्रास्ट्रक्चर बन्ड तथा दीर्घकालीन परियोजनामा पुँजी जुटाउने वैकल्पिक साधनको विकास गर्नेछौँ। वर्षौंदेखि रोकिएको गैर-आवासीय नेपालीलाई नेप्सेमा कारोबार गर्न सहज नीति तर्जुमा गर्नेछौँ। वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याउनेछौँ र त्यसका लागि पब्लिक वेयरहाउजिङ ऐन जारी गर्नेछौँ। विभिन्न किसिमका फण्ड, डेरिभेटिभ बजार तथा जोखिम व्यवस्थापन उपकरणहरूको विकास गरी पूँजीबजारलाई आधुनिक र विविधीकृत बनाउनेछौँ। साना लगानीकर्ताहरूको हित संरक्षणका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुका साथै सुरक्षित कम्पनीहरूको वित्तीय विवरणको पारदर्शिता र सुशासन सुनिश्चित गर्ने ‘स्वचालित रिपोर्टिङ प्रणाली’ अनिवार्य गर्नेछौँ। पुँजी बजारलाई केवल काठमाडौं केन्द्रित नबनाई डिजिटल माध्यमबाट देशभरका नागरिक र युवा पुस्ताको सहज पहुँच पुर्‍याउँदै समग्रलाई देशको अर्थतन्त्रको वास्तविक ऐना र पुँजी निर्माणको प्रमुख आधारका रूपमा विकास गर्नेछौँ।

३५. नेपालको विशिष्ट भूगोल, भू-परिवेष्ठित अवस्था, उच्च उत्पादन लागत तथा शक्तिशाली छिमेकी राष्ट्रहरूको प्रतिस्पर्धात्मक सन्दर्भलाई दृष्टिगत गर्दै “सीमारहित अर्थतन्त्र” र “तटस्थरहित व्यापार” को अवधारणालाई राष्ट्रिय आर्थिक रणनीतिको केन्द्रमा राख्नेछौँ। सेवा क्षेत्रमार्फत विश्व अर्थतन्त्र र मूल्य अभिवृद्धि शृङ्खलासँग जोडीन लगानी अभिवृद्धि गर्ने दीर्घकालीन रणनीति अवलम्बन गर्नेछौँ। अनौपचारिकता निर्माण भित्र अन्तर्निहितलाई सेवा निर्यातमुखी तथा ज्ञान-आधारित अर्थतन्त्रमा रूपान्तरण गर्न डिजिटल रूपान्तरणलाई राष्ट्रिय आर्थिक रणनीतिको प्रमुख आधार बनाइनेछ। यसका लागि परिमार्जित तथा विस्तारित बृहत डिजिटल नेपाल फ्रेमवर्क निर्माण गरी नीति सुधार, पूर्वाधार विकास र सार्वजनिक-निजी लगानी अभिवृद्धि गर्नेछौँ।

३६. नेपालको अर्थतन्त्रमा रेमिट्यान्स पछिको दोस्रो ठूलो खम्बा बन्ने सम्भावना बोकेको सूचना प्रविधि (IT) क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्नेछौँ। हालको १.५ अर्ब डलरको निर्यातलाई आगामी १० वर्षमा ३० अर्ब डलर पुऱ्याउने लक्ष्य प्राप्त गर्न एक स्वायत्त ‘आइटी प्रवर्द्धन बोर्ड’ गठन गर्नेछौं। यस क्षेत्रका लागि विशेष आयकर सहुलियत, वैदेशिक लगानी भित्र्याउन र नाफा लैजान सरल नीति, र बौद्धिक सम्पत्ति धितो राखी सहुलियतपूर्ण ऋणको म्याक्रो व्यवस्था गर्नेछौं। साथै, नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन सातै प्रदेशमा अत्याधुनिक ‘डिजिटल पार्क’ निर्माण गरी ५ लाख प्रत्यक्ष रोजगारी सुनिश्चित गर्नेछौं।

३७. डिजिटल अर्थतन्त्रलाई आर्थिक वृद्धि, उच्च उत्पादकत्व र गुणस्तरीय रोजगारी सिर्जनाको प्रमुख क्षेत्रका रूपमा विकास गर्न दीर्घकालीन लक्ष्यसहित आगामी पाँच वर्षमा सोही अनुरूप स्रोत विनियोजन तथा सार्वजनिक-निजी लगानी अभिवृद्धि गर्नेछौं। समग्र डिजिटल इकोसिस्टम निर्माणका लागि सञ्चार पूर्वाधार, सार्वजनिक डिजिटल पूर्वाधार, डेटा सेन्टर, क्लाउड सेवा, साइबर सुरक्षा, वैयत्तिक विवरणको गोपनीयता र सुरक्षा विधि तथा उच्च-गतिको कनेक्टिभिटीमा प्राथमिकताका साथ लगानी गर्नेछौं। इन्टरनेटको निर्बाध र भरपर्दो पहुँच सुनिश्चित गर्न बाह्य परनिर्भरता क्रमशः न्यूनीकरण गर्दै स्याटेलाइट तथा अन्य उन्नत प्रविधिमार्फत स्वतन्त्र, सुरक्षित र सार्वभौम डिजिटल संरचना स्थापना गर्ने दीर्घकालीन रणनीति अवलम्बन गर्नेछौं। सरकारी तथा सार्वजनिक प्रयोजनका लागि आवश्यक सफ्टवेयर र एप्लिकेशनहरू नेपालमै विकास गर्न प्रोत्साहन गर्ने गरी सार्वजनिक खरिद नीतिमा सुधार गर्नेछौं। हुलाक सेवालाई डिजिटल नेपाल निर्माणको आधारभूत सार्वजनिक पूर्वाधारका रूपमा पुनर्स्थापित गर्नेछौं। परम्परागत वितरण प्रणालीलाई प्रविधिमैत्री, ग्राहक-केन्द्रित र परिणाममुखी ढाँचामा रूपान्तरण गर्दै हुलाक सेवालाई सस्तो, छिटो र विश्वसनीय सेवा दिइने बहुउद्देश्यीय केन्द्रका रूपमा विस्तार गर्नेछौं।

३८. स्वदेशी स्टार्टअपहरूलाई विश्वव्यापी बजारसँग जोड्न ‘अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे’ का कानुनी र प्राविधिक अड्चनहरू तत्काल हटाउनेछौं। रुपान्तरणका लागि ‘डिजिटल नेपाल फ्रेमवर्क’ लाई राष्ट्रिय महत्त्वको आयोजनाका रूपमा विकास गर्नेछौं र सोही अनुरूप बजेट तथा कार्यक्रम ल्याउनेछौं। जहाँ सरकारी सेवा र सफ्टवेयर निर्माणमा स्वचालित नगद प्रोत्साहन र केही वर्षसम्म आयकरमा पूर्ण छुटको व्यवस्था गर्नेछौं।

३९. आगामी पाँच वर्षभित्र नेपालमै कच्चा विद्युत् मात्र निर्यात गर्ने देशबाट ‘कृत्रिम बौद्धिकता’ र ‘कम्प्युटेसन’ शक्ति पनि निर्यात गर्ने देशमा रूपान्तरण गर्नेछौं। स्वच्छ ऊर्जाको उत्पादन, चिसो पहाडी मौसम र स्थिर भू-संरचना दक्ष ‘डाटा केन्द्र’का लागि उपयुक्त छन्। प्रचुर हरित ऊर्जालाई सर्भर फार्म र क्लाउड पूर्वाधार सञ्चालनमा प्रयोग गरी, नेपालमै डाटा केन्द्र, एआई कम्प्युटेड र डिजिटल सेवाको स्वदेशी उद्योग निर्माण गर्दै विश्व अर्थतन्त्रसँग जोड्ने छौं। जलविद्युत आयोजना नजिकै उच्च क्षमताका डाटा केन्द्रहरू स्थापना गराएर अतिरिक्त विद्युत् सिधै अन्तर्राष्ट्रिय ग्राहकका लागि कम्प्युटेसनल कार्यमा प्रयोग गर्न सकिने नीति र कानुन ल्याइनेछ। क्लाउड स्टोरेज, एआई मोडल प्रशिक्षण, तथा “ग्रीन जीपीयु” कम्प्युटिङ भाडा जस्ता सेवा एशियाका प्रविधि केन्द्रहरूलाई उपलब्ध गराउने छौं। राष्ट्रिय स्वतन्त्र पार्टीको सोचमा केवल एक किलोवाट-घण्टा विद्युत बेच्ने होइन, उच्च मूल्यको सर्भरको प्रशोधन समय बेच्ने हो। नेपाललाई सुरक्षित डिजिटल आश्रयस्थल बनाउन विशेष ऐन ल्याई लगानीकर्ताहरूलाई पूर्ण कानुनी सुरक्षासहित नेपाली अधिकारक्षेत्रभित्र डाटा भण्डारण गर्न अनुमति दिनेछौं। एक वर्ष भित्र विश्वव्यापी अध्ययनका आधारमा क्रिप्टोकरेन्सीको नियमन र उपभोक्ता संरक्षणबारे स्पष्ट राष्ट्रिय नीति ल्यौनेछौं। राष्ट्रिय नीति, मौसम र ऊर्जाको अनुकूलताका आधारमा क्रिप्टो माइनिङको सम्भावनालाई पनि पहिलो वर्षमै ‘पाइलट’ का रुपमा कार्यान्यवनमा लगिनेछ।

४०. विश्वव्यापी श्रम बजारमा आएको परिवर्तनलाइ आत्मसात गर्दै नेपालमै बसेर विदेशी कम्पनी, निकाय वा रोजगारदाताका लागि काम गर्न पाउने व्यवस्था सुनिश्चित गर्न स्पष्ट कानुनी र नीतिगत प्रबन्ध गर्नेछौँ। श्रम ऐन तथा सम्बन्धित कानुनमा संशोधन गरी रिमोट वर्क, डिजिटल रोजगारी तथा सीमा पार सेवा निर्यात लाई वैधानिक मान्यता प्रदान गर्नेछौं। विदेशी कम्पनीसँग आबद्ध भई नेपालमै बसेर काम गर्ने श्रमिकहरूको पारिश्रमिक भुक्तानी, कर व्यवस्थापन तथा विदेशी मुद्रा आर्जनलाई सहज, पारदर्शी र नियमसम्मत बनाउन बैंकिङ तथा विदेशी विनिमय नीतिमा आवश्यक सुधार गर्नेछौं। रिमोट वर्क र डिजिटल घुमन्ते (‘डिजिटल नोम्याड’) लाई आकर्षित गर्न उपयुक्त भिसा, बसोबास तथा सहकार्य केन्द्र सम्बन्धी नीतिगत व्यवस्था गर्नेछौं।
४१. अनिश्चितताको घेराभित्र रहेको कृषि क्षेत्रलाई नीतिगत स्थायित्व, स्थिर बजार, पारदर्शी अनुदान, विश्वसनीय बीमा प्रणाली, पर्याप्त सिंचाइ तथा प्रविधिमा आधारित उत्पादन
प्रणालीमार्फत ‘नेपालमा कृषि गरेर धनी हुन सकिन्छ’ भन्ने विश्वाससहित सम्मानजनक पेशाका रूपमा पुनः स्थापना गर्दै समग्र अर्थतन्त्रको बलियो आधार तयार गर्नेछौं। कृषिलाई उत्पादन र व्यापार सन्तुलनको विषयमा मात्र सीमित नराखी, खाद्य सुरक्षा र पौष्टिक सुरक्षा जस्ता राष्ट्रिय लक्ष्यहरूसँग जोडेर मुख्य प्राथमिक क्षेत्रका रूपमा अघि बढाउँदै कृषिमा उत्पादकत्व वृद्धि र कृषकको वृहत्तर हित सुनिश्चित गर्न आवश्यक नीति तथा कार्यक्रम, निजी क्षेत्रसँगै लगानी नीति, आवश्यक पूर्वाधार निर्माण गर्नुका साथै पर्याप्त स्रोत विनियोजन गर्नेछौं।
४२. कृषि क्षेत्रमा आयात प्रतिस्थापनलाई टेवा पुग्ने गरी व्यापार सहजीकरण गर्नेछौं। नेपालमै उत्पादन सम्भव भएका कृषि उपजको उत्पादन वृद्धि र आत्मनिर्भरता सुनिश्चित गर्न आवश्यक ऐन-कानुन, भन्सार तथा अन्य नीतिगत सुधारहरू तत्काल गर्नेछौं। साना, कृषि उपजको प्रशोधन तथा मूल्य अभिवृद्धि हुने उद्योगलाई विशेष प्राथमिकता दिँदै कर छुट, भन्सार सहूलियत तथा लगानी प्रोत्साहनका प्रभावकारी उपायहरू लागु गर्नेछौं। प्रविधिको प्रयोगबाट कृषि उत्पादकत्व बढाउन ‘फिनटेक’ र ‘एग्रीटेक’ लाई विस्तार गर्नेछौं।

४३. नेपालमा जग्गाको उपलब्धता र कृषि सम्भावनाको उच्चतम उपयोग सुनिश्चित गर्न भू–उपयोग योजनाको पुनरावलोकन गर्दै बाँझो कृषि जमीनको उपयोग, जग्गा चक्लाबन्दी तथा जग्गा एकीकरण प्रवर्द्धन गर्न आवश्यक नीतिगत व्यवस्था तथा प्रोत्साहनमूलक कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दा सिंचाइ, रासायनिक मलखाद तथा कृषि यान्त्रीकरणमा प्राथमिकताका साथ लगानी वृद्धि गर्दै कृषि उत्पादनमा उल्लेखनीय वृद्धि तथा उत्पादन लागत न्यूनीकरण गर्नेछौं। कृषि उत्पादन वृद्धि,

लागत न्यूनीकरण, जलवायु अनुकूलन तथा मूल्य शृङ्खला विकासमा प्रभावकारी योगदान पुऱ्याई समग्र उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यसहित कृषि अनुसन्धान परिषद्‌को पुनर्संरचना गर्नेछौं।
४४. आगामी दशकमा ३०,००० मेगावाट विद्युत जडित क्षमता हासिल गर्ने लक्ष्य लिएका छौं। ऊर्जा विकासलाई तीव्रता दिन भूमि, वन तथा वातावरणसम्बन्धी विद्यमान कानुनहरूलाई परिमार्जन गर्दै ऊर्जा मन्त्रालयबाट नै सम्पूर्ण प्रकृयाको समन्वय हुने गरि कानुन संशोधन गर्नेछौँ। हाल ८ मन्त्रालय र २३ विभाग धाउनुपर्ने जटिल व्यवस्थाको अन्त्य गर्दै एकल द्वार सेवाको अवधारणा कार्यान्वयन गर्नेछौं। जलविद्युत् आयोजनाहरूको समयावधिभित्र शान्ति-सुरक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने व्यवस्था गर्नेछौं।
४५. ऊर्जा विकास दशकको लक्ष्य प्राप्तिका लागि नयाँ ऊर्जा तथा जलस्रोत नीति तयार गर्नेछौं। ऊर्जा उत्पादनसँगै ब्याट्री, पम्प स्टोरेज वा अन्य प्रविधिमा आधारित भण्डारण, साथै प्रसारण तथा वितरण प्रणालीमा पनि निजी क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्ने निजी-क्षेत्र मैत्री कानुनी व्यवस्था गर्नेछौं। ऊर्जा व्यापारमा समेत निजी क्षेत्रको संलग्नता खुला गर्ने कानुनी प्रबन्ध मिलाउनेछौं। विद्यमान ३५ वर्षे उत्पादन अनुमतिपत्रको व्यवस्थामा एकरूपता कायम गरी ५० वर्ष पुऱ्याउनेछौं। वायु ऊर्जा, रुफटप सौर्य प्रणाली अनि उर्वर खेत बाहेकका ठुला सौर्य फार्मबाट उत्पादित बिजुलीलाई नेट-मिटरिंग मार्फत ग्रिडमा बिक्री गर्न मिल्ने कानून ल्याउनेछौं। पारिलो घाम लाग्ने पहाडी क्षेत्रका बाँझा गराहरूमा सौर्य फार्म स्थापना गर्न प्रोत्साहन दिनेछौं।
४६. आन्तरिक विद्युत् खपत वृद्धि गर्न स्थापनार्थ आवश्यक जग्गा उपलब्ध गराउने तथा उद्योगसम्म प्रसारण लाइन विस्तार गर्ने व्यवस्था नेपाल सरकारले नै गर्नेछ। ऊर्जा-आधारित ठुला उद्योगहरू जस्तै स्टील, सिमेन्ट, जडिबुटी प्रशोधन, डाटा सर्भर स्टेसन तथा रासायनिक मल उद्योगलाई आकर्षित गर्नेछौं। घरेलु विद्युत् खपत वृद्धि गर्न वितरण प्रणालीमा व्यापक सुधार गर्दै बिजुलीको Tariff पुनर्संरचना गरि घरायसी खपत देखिनेगरि वृद्धि गराउन गार्हस्थ विद्युत् दर निर्धारण गरि लागु गर्नेछौँ। ऊर्जा खपत वृद्धि गर्न सुदृढ र प्रभावकारी रणनीति कार्यान्वयन गर्दै सन् २०३५ सम्म प्रति व्यक्ति वार्षिक विद्युत्को खपत १५०० किलोवाट आवर पुऱ्याउनेछौं।
४७. ऊर्जा निर्यात प्रवर्द्धन गर्न छिमेकी मुलुक भारत र बङ्गलादेशसँग ऊर्जा कूटनीति अवलम्बन गरि द्विपक्षीय तथा क्षेत्रीय सहकार्य सुदृढ गर्दै अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गर्नेछौं। सीमा-पार प्रसारण पूर्वाधार विस्तार, ऊर्जा बजार पहुँच र स्थिर खरिद-बिक्री संरचनामार्फत नेपाललाई विश्वसनीय ऊर्जा आपूर्तिकर्ताका रूपमा स्थापित गर्नेछौं।
४८. नेपाल भित्रिने पर्यटक संख्या र उनीहरूको प्रतिव्यक्ति खर्चलाई पाँच वर्षभित्र दोब्बर पार्दै औसत बसाइ लम्ब्याउन आवश्यक नीतिहरू कार्यान्वयन गर्नेछौं। ट्रेकिङ्ग-केन्द्रित पर्यटनलाई विविधीकरण गर्न प्रकृति, संस्कृति, समुदाय जोड्दै नयाँ ‘इकोसिस्टम’ स्थापनामा ध्यान दिनेछौं। कर्णाली र सुदूरपश्चिमलाई विशेष ध्यान दिई नयाँ पर्यटकीय गन्तव्यहरू स्थापित गर्नेछौं। सडकले कित्ताकाट पारेका मगर क्षेत्रमा ‘पार्किङ्ग टाउआ’  वा ‘हेलिक्याप्टर’ बाट ‘पिक अप’ र ‘ड्रप डाउन’ को व्यवस्था वैकल्पिक पैदलमार्ग बनाउन बजेटको व्यवस्था गर्नेछौँ।

४९. एकद्वार डिजिटल पर्यटन प्रणाली मार्फत अनलाइन बुकिङ्ग, टिकट, रसिद, कर, लगायतका सम्पूर्ण भुक्तानीको व्यवस्था गरिनेछ। पर्यटकहरूलाई भिसा अन अराइभल, फ्रि भिसा, तथा अन्य आवश्यक सेवाहरू उपलब्ध गराउन अध्यागमन विभाग, पर्यटन बोर्ड र अन्य सम्बद्ध निकायहरूको बीचमा समन्वय गरिनेछ।

डिजिटल प्लेटफर्ममा एकीकृत गरि पर्यटकको समय, खर्च र झन्झट घटाउनेछौ। पर्वतीय पर्यटनमा व्यापक सुधार र सुरक्षाको प्रत्याभूति दिनेछौं। हिमाललाई ६,००० मि. देखि ८,००० मि. सम्म तीन श्रेणीमा विभाजित गरि ८,००० मि. माथिको आरोही बन्न तलको अनुभव लिएको हुनुपर्नेछ। सहज ड्रोन प्रयोग लगायत आधुनिक प्रविधिबाट सुरक्षा, खोज तथा उद्धार प्रणाली सुदृढ बनाउनेछौँ। नेपालको भौगोलिक लाभ उपयोग गर्दै भारत-नेपाल सीमाबाट १.५ घण्टाको दूरीमा रहेका पहाडी क्षेत्रमा ‘हिल स्टेशन विकास नीति’ कार्यान्वयन गर्नेछौं।
५०. पशुपतिनाथ र लुम्बिनीका अलावा काठमाडौँ उपत्यकाको संस्कृति तथा वास्तुकला, देवघाटदेखि मुक्तिनाथसम्मको हिन्दु-बौद्ध महिमा र राम-जानकी विवाहको ऐतिहासिक भूमि जनकपुरलाई धार्मिक-सांस्कृतिक पर्यटन केन्द्रका रूपमा प्रवर्द्धन गर्न विशेष पूर्वाधार निर्माण गर्नेछौं। यी लगायत अन्तर्राष्ट्रिय ब्रान्डीङ नपुगेका सुदूरपश्चिम, कर्णाली, मधेश र कोशीका प्रसिद्ध स्थान र सम्पदाहरूको प्रवर्द्धनमा जोड दिनेछौं। नेपाल पर्यटन बोर्ड पुनर्गठित हुनेछ जसले नयाँ र सिर्जनात्मक मार्केटिंग, अनुभव सङ्कलन र प्रसारण, स्थानीय समुदायका आफ्ना पर्यटकीय उत्पादनहरूलाई ‘कथा’ मार्फत बजारीकरण गर्नेछौं।
५१. नेपाललाई विश्वकै प्रमुख पर्वतारोहण प्रशिक्षण केन्द्र का रूपमा विकास गर्न ‘माउन्टेन स्कुल’ को नीतिगत ढाँचा तयार गरी उच्च हिमाली उद्धार र चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय एकेडेमी सञ्चालन गर्नेछौं।
५२. नेपाल नागरिक उड्डयन प्राधिकरणमा नियामक निकाय र सेवा प्रवाह गर्ने निकाय अलग बनाउँदै, अन्तर्राष्ट्रिय विज्ञ टोलीमार्फत ‘हवाई सुरक्षा अडिट’ गराएर नेपाललाई कालोसूचीबाट हटाउन पहल गर्नेछौं। कुशासनका कारण खस्केको नेपाल वायुसेवा निगमलाई राजनीतिक भागबन्डा र हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गरी यसको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी खुला प्रतिस्पर्धाबाट छानिएको व्यावसायिक टोलीलाई सुम्पिने, वित्तीय अवस्था सुधार्न सरकारको ५१ प्रतिशत स्वामित्व हुने गरी निजी क्षेत्रको सहभागिता भित्र्याउने र अन्ततः धितोपत्र बजारमा सूचीकृत गर्ने रणनीति अवलम्बन गर्नेछौँ। साथै नेपाल वायुसेवालाई छिटो, पारदर्शी र भ्रष्टाचाररहित प्रक्रियाबाट जहाज लीजमा लिई बजारले धानेसम्म उडान सङ्ख्या बढाउन लगाई थप जहाजको खरिद प्रक्रिया अगाडि बढाउनेछौं।
५३. पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पूर्ण सञ्चालनमा ल्याउन विभिन्न शुल्कमा छुटको व्यवस्थालाई थप प्रभावकारी बनाउन, ती विमानस्थललाई अन्तर्राष्ट्रिय बजारीकरण गर्न, साथै भारतसँग प्रवेश-निर्गमन तथा आइ.एल.एस. सञ्चालनबारे कूटनीतिक पहल गर्नेछौं। त्रिभुवन विमानस्थलको क्षमता बढाउन ९ वर्ष अघि तयार पारिएको नयाँ अन्तर्राष्ट्रिय टर्मिनलको डिजाइनलाई द्रुत गतिमा परिमार्जन गरी निर्माण प्रक्रियालाई अगाडि बढाउनेछौं। नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको योजनालाई नेपालको दीर्घकालीन बजार र विश्वव्यापी उड्डयनमा परिवर्तनशील प्रवृत्तिहरूको विस्तृत अध्ययनका आधारमा निजगढ वा वैकल्पिक स्थानमा निर्माण गर्न, साथै विमानस्थललाई सडक एवं रेलमार्ग मार्फत प्रमुख शहरहरूसँग जोड्न सार्वजनिक र निजी वित्तीय स्रोतको व्यवस्थापन गर्नेछौं।

५४. लामो दूरीको बस सेवामा सिन्डिकेट र कार्टेलिङलाई पूर्णतः अन्त्य गरी नागरिकलाई स्वस्थ प्रतिस्पर्धा र सुरक्षित गुणस्तरीय सेवा दिनेछौं। ठुला सहरी क्षेत्रमा नगर बस सेवालाई चुस्त, सुरक्षित, आरामदायी र भरपर्दो बनाउन एउटै प्राधिकरणको व्यवस्थापन अन्तर्गत केन्द्रीकृत टिकट एवं शुल्क वितरण प्रणाली हुनेछ। विद्युतीय बसको उपयोग बढाउन भन्सार सहुलियत दिनेछौं। काठमाण्डौ उपत्यका लगायत तराईका मुख्य कोरिडोरहरूमा सार्वजनिक यातायात विकासको दीर्घकालीन गुरुयोजना बनाउनेछौं।

५५. सडक सुरक्षालाई प्रविधिसँग जोड्दै सबै सार्वजनिक यातायात साधनको जीपीएस ट्रयाकिङ्ग लगायत ए.आइ. मा आधारित ट्राफिक क्यामेरा, डिजिटल जरिवाना प्रणाली र गति तथा लेन अनुशासन कडाइ गर्दै पहिलो वर्षमै दुर्घटना दरमा भारी गिरावट ल्याउने लक्ष्य राख्नेछौं। सार्वजनिक यातायातमा महिला तथा किशोरीहरूले भोग्नुपर्ने असुरक्षालाई अन्त्य गर्न चितवनको सफल अनुभव (ब्लु बस) अन्य शहरहरूमा पनि विस्तार गर्नेछौं। पैदलयात्रीलाई सडक छेउ हिड्न र सडक काट्न सुरक्षित पूर्वाधार बनाउन विषेश पहल गर्नेछौं।

५६. देशैभर, काठमाडौँमा शुरु गरिए जस्तै, स्थानीय परम्परागत वास्तुकलामा आधारित, सुरक्षित र आरामदायी बसबिसौनी बनाउने पहल गर्नेछौं। हरेक नगरपालिकाका बासिन्दालाई खेलकुद, व्यायाम, सांस्कृतिक कार्यक्रम लगायत विपद व्यवस्थापनलाई पुग्दो हरियाली, खुला ठाउँ र पार्कहरु बनाउन, साथै ढल र खोलानाला तथा पोखरीको उचित व्यवस्था गर्न विषेश बजेट छुट्याउने छौं।

५७. वि.सं. २०८७ सम्ममा नेपालका सबै प्रमुख सहरी केन्द्रहरूमा ‘राष्ट्रिय खुल्ला क्षेत्र मापदण्ड’ लागू गरी राज्यको स्वामित्वमा रहेका तर सर्वसाधारणका लागि हाल बन्द गरिएका सुरक्षा निकाय, प्रशासनिक मुख्यालय र ऐतिहासिक परिसरहरूका उदेक लाग्दा पर्खालहरू र खालि स्थानहरूलाई नागरिकमैत्री ‘ग्रिन बेल्ट’ र सार्वजनिक पार्कले क्रमिक रूपमा विस्थापित गरिनेछ। सुरक्षा संवेदनशीलता र कार्यसम्पादनमा कुनै सम्झौता नगरी, ‘सह-व्यवस्थापन’ र स्मार्ट सेक्युरिटी प्रणालीमार्फत नारायणहिटीदेखि लगनखेल र सातै प्रदेशका ठूला सरकारी हाताहरूलाई व्यवस्थित रूपमा नागरिकको व्यायाम, विश्राम र मानसिक कल्याणका लागि खुला गरेर प्रति-नागरिक न्यूनतम खुला क्षेत्रको अन्तर्राष्ट्रिय मापदण्ड सुनिश्चित गर्नेछौं।

५८. इन्जिनियरिङ मापदण्ड लगायत ठेक्का प्रकृयामा व्यापक सुधार ल्याई राष्ट्रिय राजमार्ग संजालको उल्लेख्य विस्तार गर्नेछौं। बाह्र महिना हुनु यात्रा गर्न सक्नु, अनि सबै ठाउँबाट बजार र सेवाहरूमा सजिलो पहुँच हुनु प्रतिस्पर्धी अर्थतन्त्रका पूर्वशर्त हुन्। ‘घेरे ठाउँमा टुक्रा खुर्पीले सडक’ सम्झाल गुणस्तरीय, सुरक्षित र मौसममैत्री छैन। सडक दुर्घटना घटाउन गति नियन्त्रण, बत्तिया सेफ्टी ब्यारिअर, साथै भारत-आयतात लेन छुट्याउन र सवारी साधनबाट पैदलयात्रीलाई सुरक्षित राख्न विषेश ध्यान दिनेछौं। दमक, इटहरी, लहान, हेटौडा, भरतपुर, बुटवल, कोहलपुर, अन्तरिया जस्ता राजमार्गका छेउमा विस्तार भएका सहरहरूलाई लामो दूरीमा चल्ने बस र टुक्को ट्यांपो, प्रदूषण, ट्राफिक जाम र असुरक्षाबाट बचाउन नयाँ बाइपास सडकहरू बनाउनेछौं। बस्ती क्षेत्रमा पैदलयात्री र साइकल यात्रीलाई सडक छेउ हिड्न र सडक काट्न पारिदै पर्याप्त सुरक्षित पूर्वाधारलाई सडकको मापदण्ड र ठेक्कामा समाहित गर्नेछौं।

५९. नेपालकै यातायात प्रणालीमा दीर्घकालीन परिवर्तन ल्याउन विस्तृत अध्ययनको आधारमा रेलमार्ग विस्तारको पचास वर्षे गुरुयोजना बनाउनेछौं। मेची-महाकाली विद्युतीय रेलमार्गलाई यात्रु र माल ढुवानीको मेरुदण्ड बनाइने छ भने पोखरा, काठमाण्डौ, दाङ, सुर्खेत र तराईका प्रमुख शहरहरुसम्म शाखा मार्गहरु सहित नेपाललाई चीन र भारतका रेल सञ्जालसँग जोडिनेछन्। नेपालका प्रमुख शहरहरुमा मध्य-कालमा विद्युतीय बस र पछि लामो दूरीको रेलमार्ग सञ्जालमा जोडिन ट्र्याम, हलुका रेल आदि समेटिनेछ। मुआब्जा वितरणमा रहेका कानुनी जटिलतालाई समाधान गर्दै, आवश्यक जनशक्ति उत्पादन गर्दै निर्माणाधीन रेलमार्गलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउने छौं।

६०. खनिज, खानी उत्खनन तथा खानी उद्योग दीर्घकालीन र उच्च आर्थिक वृद्धिका प्रमुख आधार मान्दै आन्तरिक खपत र निर्यात विस्तार गर्न लगानीमैत्री खानी नीति तथा ऐन ल्याउनेछौं। खनिज तथा खानी पदार्थ नियमावली, २०७६ लाई संशोधन गरी रोयल्टी दरको पुनरावलोकन गर्दै सरकारी-निजी साझेदारीमा आधारित लगानी मोडेल विकास गर्नेछौं। निर्माणमुखी सामग्रीको उत्खनन, उत्पादन, आपूर्ति र प्रयोगको समग्र नियमन तथा प्रभावकारी अनुगमनका लागि खानी तथा खनिज प्राधिकरण स्थापना गर्छौं। यस अन्तर्गत ढुङ्गा, गिट्टी र बालुवाको उत्खननलाई आन्तरिक उपयोग मात्र नभई नियमनको परिधिभित्र रहि निर्यात पनि गर्नेछौं। वातावरण विनाश, पूर्वाधारमा क्षति, कालोबजारी, भ्रष्टाचार, अनियमितता, अवैध उत्खनन तथा अव्यवस्थित क्रसर उद्योग सञ्चालन जस्ता विद्यमान समस्याको अन्त्य गर्न नयाँ कानून तर्जुमा गरी वातावरणीय, इन्जिनियरिङ, आर्थिक तथा सामाजिक पक्ष समेटिएका स्पष्ट, मापनयोग्य र कार्यान्वयनयोग्य मापदण्डहरू लागू गर्नेछौं।

६१. विश्वविद्यालय र विद्यालयहरूलाई दलीय राजनीतिक गतिविधिको अखडा हुनबाट मुक्त गर्नेछौं। शिक्षक तथा प्राध्यापकहरूको राजनीतिक आबद्धतालाई पूर्णतः निषेध गर्नेछौं। विद्यार्थी सङ्गठनमार्फत हुने अराजकता, तोडफोड, जबरजस्ती बन्द र शैक्षिक वातावरणमा अवरोध सृजना गर्ने गतिविधिलाई नियन्त्रण गर्न शैक्षिक संस्थाभित्र दलगत राजनीतिक कार्यक्रम पूर्ण रूपमा निषेध गर्नेछौं। विद्यार्थीहरूको विचार अभिव्यक्ति, नेतृत्व विकास र रचनात्मक सहभागितालाई प्रोत्साहन गर्न गैर-दलीय, प्राज्ञिक विद्यार्थी प्रतिनिधित्व प्रणाली विकास गर्नेछौं, जसले लोकतान्त्रिक अभ्यासलाई संरक्षण गर्दै शैक्षिक वातावरणलाई अनुशासित र मर्यादित बनाउनेछ।

६२. सार्वजनिक शिक्षाको गुणस्तर, पहुँच र प्रतिस्पर्धात्मक क्षमतामा आमूल सुधार ल्याउन आगामी दुई दशकसम्म उल्लेख्य लगानी थप्दै गुणस्तर वृद्धि गर्नेछौं।

६३. निजी क्षेत्रद्वारा प्रदान गरिँदै आएको शिक्षालाई सार्वजनिक शिक्षाको पहुँच र गुणस्तरको परिपूरकका रूपमा स्वीकार गर्नेछौं। थप सेवामुखी, उत्तरदायी र गुणस्तर-केन्द्रित बनाउन समग्र पुनरावलोकन तथा आवश्यक नीतिगत सुधार गरिँदै लगिनेछ। निजी शैक्षिक संस्थाहरूको शुल्क संरचना, सेवा मापदण्ड, शिक्षक योग्यता, पूर्वाधार र शैक्षिक परिणामको आधारमा नियमन तथा अनुगमन प्रणाली सुदृढ गर्नेछौं। शिक्षालाई नाफामुखी भन्दा सेवामुखी क्षेत्रका रूपमा व्यवस्थित गर्दै समान अवसर, पारदर्शिता र सामाजिक उत्तरदायित्व सुनिश्चित गर्नेछौं।

६४. प्रत्येक बालबालिकाको “सिकन पाउने अधिकार” लाई अक्षुण्ण राख्न हरेक प्रदेशमा कम्तीमा एक ‘अत्याधुनिक नमुना समावेशी विद्यालय’ स्थापना गर्दै देशभरका सबै विद्यालयलाई क्रमशः पूर्ण पहुँचयुक्त र समावेशी बनाउनेछौं। विशेषगरी अटिजम र न्यूरोडाइभर्सिटी लगायत अपाङ्गता भएका बालबालिकाका लागि अत्यावश्यक अकुपेसनल, स्पीच र बिहेवियरल थेरापी जस्ता ‘होलिस्टिक सेवा’ एकीकृत गरी विद्यालय हाताभित्रै प्रदान गर्दै अभिभावकहरूको आर्थिक र मानसिक बोड़ा कम गर्नेछौं। शिक्षकहरूलाई विशेष सिकाइ आवश्यकता पहिचान र शिक्षणका लागि उच्चस्तरीय तालिम, अभिभावक सहायता कार्यक्रम, र कृत्रिम बुद्धिमत्ता युक्त ‘असिस्टिभटेक्नोलोजी’ को बृहत् प्रयोगमार्फत अपाङ्गता भएका बालबालिकाको शिक्षा र सिकाइमा अवरोधरहित र पहुँचयुक्तता सुनिश्चित गर्नेछौं। 

६५. शिक्षकलाई शिक्षाको मेरुदण्डका रूपमा स्वीकार गर्दै योग्यता, क्षमता, निरन्तर पेशागत विकास र स्पष्ट जवाफदेहितामा आधारित प्रणाली लागू गर्नेछौं। प्राज्ञिक नियुक्तिहरू तथा शिक्षक छनोट, पदोन्नति र मूल्याङ्कन प्रक्रिया पारदर्शी र मेरिट-आधारित बनाउनेछौं। साथै, मौलिक सीप र कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न ‘गुरु-चेला’ परम्परामा आधारित विशेष छात्रवृत्ति र तालिम कार्यक्रममार्फत सांस्कृतिक पुनर्जागरण अभियान सञ्चालन गर्नेछौं।

६६. उच्च शिक्षालाई प्रतिस्पर्धी, अनुसन्धानमुखी तथा रोजगार-उन्मुख बनाउन विश्वविद्यालयहरूको पुनर्संरचना गर्नेछौं। विश्वविद्यालयहरूलाई प्रशासनिक रूपमा दक्ष, शैक्षिक रूपमा स्वायत्त र वित्तीय रूपमा उत्तरदायी बनाउनेछौं। कार्यक्रम दोहोरोपनाको अन्त्य, गुणस्तर सुनिश्चितता, अनुसन्धान प्रोत्साहन, उद्योग-शिक्षा सहकार्य तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप पाठ्यक्रम परिमार्जनमार्फत उच्च शिक्षालाई राष्ट्रिय विकाससँग प्रत्यक्ष रूपमा जोडिने व्यवस्था गर्नेछौं।

६७. आज लाखौं नेपाली विद्यार्थी उच्च शिक्षाको खोजीमा विदेश गइरहेकाछन् भने हजारौं नेपाली प्राध्यापक विदेशमा कार्यरत छन्। नेपालको एशियामा केन्द्रीय स्थान, आकर्षक परिदृश्य र हावापानी, साथै अन्य देशहरूसँगको शान्तिपूर्ण सम्बन्धले गर्दा नेपाल अन्तर्राष्ट्रिय उच्च शिक्षा हब बन्न उपयुक्त छ। हामीले विदेशी विश्वविद्यालय र नेपाली विश्वविद्यालय बिच दीर्घकालीन साझेदारी कायम गर्न, साथै नेपालमा विदेशी विश्वविद्यालयहरूका आङ्गिक क्याम्पस र विदेशी डिग्री कार्यक्रमहरू सञ्चालन गर्न सरल बनाउने छौं। विदेशी अध्यापक र विद्यार्थीहरूका लागि भिसा उपलब्ध गराउन सजिलो प्रक्रिया र विदेशी अध्यापकहरूलाई नेपालमा स्थायी बसोबास अनुमति प्राप्त गराउन द्रुत प्रक्रिया लागू गर्ने छौं। विदेशमा कार्यरत नेपाली मूलका प्राध्यापक र अनुसन्धानकर्ताहरूलाई एकले सेमेस्टर वा स्थायी रूपमा नेपाल फर्कनुपर्ने कार्यक्रम पनि थालनी गर्ने छौं ।

६८. खेलकूदलाई केवल ‘मनोरञ्जन’ र ‘भर्ती केन्द्र’ बाट मुक्त गरी राष्ट्रिय एकता र आर्थिक समृद्धिको मेरुदण्डका रूपमा विकास गरिनेछ। १४ वर्षदेखि अधुरा रहेका रङ्गशालाहरूलाई सामग्री सम्पन्न गर्दै सातै प्रदेशमा अत्याधुनिक र ‘पूर्णतः पहुँचयुक्त’ खेल पूर्वाधारहरू निर्माण गर्नेछौं, जहाँ ओलम्पिक र प्यारालिम्पिक दुवैका लागि विश्वस्तरीय व्यावसायिक प्रशिक्षणको व्यवस्था हुनेछ। विद्यालयस्तर देखि नै ‘प्रतिभा पहिचान’ कार्यक्रममार्फत ‘स्कूल स्पोर्टस्’ लाई पाठ्यक्रमको अभिन्न अङ्ग बनाइनेछ र प्रत्येक स्थानीय तहमा एक बहुउद्देश्यीय खेल मैदान सुनिश्चित गरिनेछ।

६९. खेलकूद प्रशासनमा राजनीतिक नियुक्ति पूर्णतः खारेज गरी ‘पेशागत नेतृत्व’ र पारदर्शी बजेट व्यवस्थापन लागू गरिनेछ, जहाँ लगानी ‘भ्रष्टाचार’ मा होइन, खेलकुदको डाक्टर, प्रशिक्षण र प्रविधिमा केन्द्रित हुनेछ । अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूका लागि सम्मानजनक जीवन निर्वाह गर्न ‘खेलाडी पेन्सन कोष’, स्वास्थ्य बीमा र रोजगारीको विशेष ग्यारेन्टी गरिनेछ। साहसिक खेल र अल्ट्रा-म्याराथन जस्ता नेपालका मौलिक सम्भावनाहरूलाई ‘राष्ट्रिय गौरव’ का रूपमा प्रवर्द्धन गर्दै र निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्दै नेपाललाई दक्षिण एसियाकै ‘स्पोर्ट्स हब’ का रूपमा स्थापित गरिनेछ।

७०. देशभरि आधारभूत स्वास्थ्य क्षेत्रमा ‘न्युनतम मापदण्ड’ कायम गरी सेवा प्रवाह गर्न आवश्यक मानव संसाधन, पर्याप्त औषधि आपूर्ति, अत्यावश्यक उपकरण, सहज पहुँच तथा आधारभूत पूर्वाधारको सुनिश्चितता सहितको एकीकृत मोडेल तयार गरी लागू गर्नेछौं। भौगोलिक विकटता र जनसंख्या घनत्वका आधारमा सेवा विस्तारको स्पष्ट मापदण्ड तय गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विशेष प्राथमिकताका साथ विस्तार गर्नेछौं। साथै देशभरका स्वास्थ्यकर्मीहरुलाई जोड्न भर्चुअल शैक्षिक तथा सामाजिक सञ्जाल खडा गर्नेछौं, जसले गर्दा दुर्गम ठाऊँमा खटेका स्वास्थ्यकर्मीहरुलाई एक्लो तथा पृथक महसुस हुनेछैन ।

७१. स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय स्वास्थ्य सेवा तथा प्रत्येक नागरिकको पहुँच सुनिश्चित हुने गरी विस्तार गर्नेछौं। स्वास्थ्यसँग सम्बन्धित सबै सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई एकद्वार प्रणाली मार्फत व्यवस्थित गर्दै औषधी, उपचार तथा सेवाहरू, मानसिक स्वास्थ्य समेत स्वास्थ्य बीमा कार्यक्रम भित्र समेटिने गरी स्वास्थ्य क्षेत्रमा नेपाल सरकारको मुख्य प्राथमिकताको कार्यक्रमको रूपमा अघि बढाउनेछौं।

७२. क्यान्सर लगायत नसर्ने रोगका सन्दर्भमा उपचारमुखी भन्दा रोकथाममुखी रणनीतिलाई मुख्य लक्ष्यका रूपमा कार्यान्वयन गर्नेछौं। विविध प्रकारका अनुदान वा नगद हस्तान्तरणलाई दीर्घकालीन समाधानको सट्टा अस्थायी राहतका रूपमा बुझ्दै, रोग लागेपछि उपचार गर्ने भन्दा जोखिमहरूको पहिचान, जनचेतना अभिवृद्धि, नियमित स्वास्थ्य परीक्षण तथा जीवनशैली सुधारतर्फ उन्मुख गर्नेछौं।

७३. प्रत्येक प्रदेशमा कम्तीमा एक ‘अत्याधुनिक अपाङ्गता पुनर्स्थापना विशिष्टिकृत स्रोत केन्द्र’ स्थापना गरी अपाङ्गता भएका नागरिकलाई गुणस्तरीय र एकीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौं। यी केन्द्रहरूमा ‘प्रोस्थेटिक्स र अर्थोटिक्स’ सेवा, सहायक सामग्री, फिजियोथेरापी, अकुपेसनल थेरापी, र स्पीच थेरापी जस्ता विशेषज्ञ सेवाहरू एउटै छानामुनि उपलब्ध गराइनेछ भने कृत्रिम अङ्गहरूको निर्माण र मर्मतका लागि आधुनिक प्रयोगशालाको व्यवस्था गर्नेछौं।

७४. वि.सं. २०८७ सम्ममा रोकथाम गर्न सकिने अपाङ्गताबाट हुने व्यक्तिगत, पारिवारिक र राष्ट्रिय भारलाई न्युन बिन्दुमा झार्नेछौं। अपाङ्गता पुनर्स्थापनाकालागि ‘प्रारम्भिक पहिचान र शीघ्र हस्तक्षेप’ प्रणालीलाई तल्लो तहका स्वास्थ्य संस्थाहरूमा विस्तार गरिनेछ। बालबालिकामा देखिने अटिजम, सुस्त श्रवण, हट्टीसम्बन्धी र अन्य न्युरो-डेभेलपमेन्टल समस्याहरूको समयमै पहिचानका लागि स्थानीय तहका स्वास्थ्य केन्द्रहरूलाई अत्याधुनिक ‘अली क्लिनिक’ औजार र दक्ष जनशक्तिसहित सक्रिय बनाइनेछ। जन्मानुसाथ वा प्रारम्भिक बाल्यकालमै पहिचान गरी प्रभावकारी पुनर्स्थापना र थेरापी सेवा सुनिश्चित गरिनेछ, जसले गर्दा अपाङ्गतालाई जटिल हुनबाट रोकी व्यक्तिको आत्मनिर्भर र उत्पादनशील नागरिकका रूपमा विकास गर्नेछौं।

७५. रोगको रोकथाम, मानसिक स्वास्थ्य सुदृढीकरण र समग्र जीवनशैली सुधारका लागि विद्यालय, समुदाय तथा स्वास्थ्य संस्थामार्फत योग र ध्यान कार्यक्रम सञ्चालन गर्नेछौं। साथै, वैज्ञानिक अध्ययनका आधारमा वैकल्पिक उपचार पद्धतिलाई संस्थागत ढङ्गले व्यवस्थित गर्नेछौं।
७६. जलन पीडितहरूको निःशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न ‘जलन उपचार कोष’ को स्थापना र एक विश्वस्तरीय विशेष जलन अस्पताल निर्माणको प्रक्रिया तत्काल सुरु गर्नेछौं।
७७. मानसिक स्वास्थ्य सेवालाई नागरिकको सहज पहुँचमा पुऱ्याउन छुट्टै अधिकार सम्पन्न महाशाखा स्थापना गर्नेछौं र प्राथमिक स्वास्थ्य सेवा प्रवाहमा ‘मानसिक प्राथमिक उपचार’ सबै जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था सहित २४सै घण्टा सञ्चालन हुने राष्ट्रिय हेल्पलाइन मार्फत सेवा प्रवाह गर्नेछौं।
७८. श्रमलाई सस्तो स्रोत होइन, सम्मानजनक मानव पूँजीका रूपमा स्थापित गर्दै सुरक्षित, मर्यादित र न्यायपूर्ण श्रम बजार निर्माण गर्नेछौं। नेपालको श्रम बजारमा मजदुरहरूले न त उचित र समयमै ज्याला पाउने अवस्था छ, न कार्यस्थलमा सुरक्षित रूपमा काम गर्ने सुनिश्चितता। ठूलो संख्या अनौपचारिक क्षेत्रमा आबद्ध छन्, जहाँ न बीमा सुविधा छ, न सामाजिक सुरक्षा, न समस्या पर्दा कानुनी सहायताको सहज पहुँच। ठगी, ज्याला बक्यौता र श्रम शोषण सामान्यजस्तै भएको अवस्थालाई अन्त्य गर्न व्यापक श्रम बजार सुधार कार्यक्रम लागू गर्नेछौं। श्रमिकका लागि निःशुल्क वा सहुलियत दरमा कानुनी सहायता तथा श्रम न्यायमा सहज पहुँचको संस्थागत व्यवस्था गर्नेछौं। अनौपचारिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्नेछौं। कार्यस्थल सुरक्षा, बीमा र सामाजिक सुरक्षा अनिवार्य गर्नेछौं तथा कडाइका साथ अनुगमन गर्नेछौं।
७९. वैदेशिक रोजगारमा जाने नागरिकहरूको हित संरक्षण गर्न वैदेशिक रोजगार कम्पनीहरूलाई पारदर्शी, नियमसम्मत र पूर्ण जवाफदेही बनाउनेछौं। ठगी, अत्यधिक शुल्क असुली र झुटा करार गर्ने प्रवृत्तिमाथि कडा कारबाही गर्नेछौं। वैदेशिक रोजगारमा गई विप्रेषण भित्राउने श्रमिकहरूको योगदानको सम्मान गर्दै उनीहरूका लागि विशेष परिचयपत्र जारी गर्नेछौं। उक्त परिचयपत्रका आधारमा सरकारी स्वास्थ्य सेवा, शिक्षा तथा अन्य सामाजिक सेवामा सहुलियतको व्यवस्था हुनेछ।
८०. दलित तथा उत्पीडित समुदायका परिवार सदस्य वैदेशिक रोजगारीमा जान इच्छुक भएमा स्थानीय तहको सिफारिस वा जमानतमा बैंकमार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ। वैदेशिक रोजगारबाट सीप र अनुभव आर्जन गरी स्वदेशमै उत्पादनमुखी उद्यम सञ्चालन गर्न चाहने उद्यमीहरूलाई ब्याजमा विशेष अनुदान, प्राविधिक सहयोग तथा बजार पहुँच कार्यक्रममार्फत प्रोत्साहन गर्नेछौं।
८१. नागरिकको जीवनभरको कमाइ अनुत्पादक आवास निर्माणमै खर्चिनु पर्ने बाध्यतालाई अन्त्य गर्न स्थानीय तहहरूमार्फत ‘दिगो तथा सुविधायुक्त आवास नमूना कार्यक्रम’ व्यापक रूपमा सञ्चालन गरिनेछ। विशेषतः वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणलाई सुरक्षित लगानीमा रूपान्तरण गर्न इन्जिनियरिङ परामर्श र प्राविधिक सहयोगसहितका किफायती आवास मोडेलहरू कार्यान्वयन गरिनेछ। सबै नयाँ निर्माणमा भूकम्प प्रतिरोधी मापदण्ड, आधुनिक वायरिङ र प्लम्बिङ प्रणाली अनिवार्य गरिनेछ भने ३ तलाभन्दा माथिका सबै भवनहरूका लागि कडा ‘अग्नि सुरक्षा संहिता’ लागू गरिनेछ। साथै, भौगोलिक विशेषताअनुसार लामखुट्टे, सर्प र अन्य जीवजन्तुको प्रवेश रोक्ने ‘भिक्टर-कन्ट्रोल’ वास्तुकला र आधुनिक जाली प्रणालीलाई घरको डिजाइनमै एकीकृत गरी स्वस्थ र सुरक्षित बसोबास सुनिश्चित गर्नेछौं।
८२. विगतका असफलताहरूबाट सिक्दै, ‘भू-उपग्रह नक्साङ्कन’ र ‘डिजिटल बायोमेट्रिक प्रमाणीकरण’ मार्फत वास्तविक भूमिहीन र सरकारी जग्गा कब्जा गर्ने ‘नक्कली’ सुकुम्बासीहरूलाई वैज्ञानिक रूपमा छुट्याउन एक अधिकार सम्पन्न ‘उच्चस्तरीय राष्ट्रिय भूमि अधिकार प्राधिकरण’ गठन गरिनेछ। वास्तविक भूमिहीनहरूका लागि सुरक्षित, सुविधापुक्त र उत्पादनसँग जोडिएको ‘एकीकृत नमूना बस्ती’ विकास गरी स्थायी आवास र जग्गाको स्वामित्व (लालपुर्जा) प्रत्याभूत गर्नेछौं।
८३. पहाडी र हिमाली क्षेत्रमा विविधता, जटिल भू-बनोट, भूगर्भिक असुरक्षा तथा छरिएर रहेका बस्तीहरूमा बसोबासका कारण आधारभूत पूर्वाधारहरू; शिक्षा, स्वास्थ्य, सडक तथा अन्य सार्वजनिक सेवाहरू प्रभावकारी र कम लागतमा निर्माण गर्न कठिन छ। विकास सेवा र पूर्वाधारलाई कम खर्चिलो, पहुँचयोग्य तथा दिगो बनाउने उद्देश्यले छरिएका बस्तीहरूलाई चरणबद्ध रूपमा एकीकृत बस्तीमा रूपान्तरण गर्ने नीति कार्यान्वयन गर्नेछौं। यसका लागि नमूनाका रूपमा एकीकृत बस्ती निर्माण कार्यक्रम प्रारम्भ गर्नेछौं। यस्ता एकीकृत बस्तीको आधार त्यहाँको भू-उपयोग योजना, सुरक्षित आवास, आधारभूत पूर्वाधार, रोजगारीका अवसर, सामुदायिक सेवा केन्द्र तथा वातावरणीय सन्तुलन हुनेछ। स्थानीय समुदायको स्वैच्छिक सहमति, सहभागिता तथा सामाजिक-सांस्कृतिक संरचनाको संरक्षणलाई ध्यानमा राख्दै कार्यक्रम कार्यान्वयन गर्नेछौं।
८४. युवा र नयाँ दम्पत्तीहरूलाई आफ्नै घरको स्वामित्व प्रदान गर्न हामी ‘प्रथम आवास प्रोत्साहन नीति’ कार्यान्वयनमा ल्याउनेछौं। पहिलो पटक घर खरिद वा निर्माण गर्ने नागरिकका लागि घर कर्जाको वार्षिक सावाँव्याज भुक्तानीलाई आयकरमा कट्टी गर्न पाउने प्रावधान लागू गर्नुका साथै घरजग्गा दर्ता शुल्क (मालपोत) मा विशेष छुटको व्यवस्था गर्नेछौं। नागरिकको आफ्नै घरमा बस्ने सपनालाई राज्यको दायित्वका रूपमा स्थापित गर्दै युवाहरूको वित्तीय पहुँच सहज बनाउनेछौं।
८५. सम्पूर्ण सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी, पारदर्शी र लक्षित बनाउन डेटाबेस निर्माण गरी, प्राथमिकता निर्धारणका आधारहरू विश्लेषण गरी सबैभन्दा बढी आवश्यकता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्दै, दोहोरो लाभ र दुरुपयोग रोक्ने उद्देश्यले सामाजिक सुरक्षा प्रणाली पुनः डिजाइन गर्नेछौं।
८६. वन क्षेत्र र त्यसबाट प्राप्त हुने उत्पादनले अर्थतन्त्रमा बृहत्तर योगदान पुऱ्याउने गरी वन व्यवस्थापन र उपयोगसम्बन्धी स्पष्ट कानुन तथा नीतिगत पुनरावलोकन गर्नेछौं। चरन क्षेत्रको विकास, मासुजन्य पशुपंक्षी पालन, आवश्यक पूर्वाधार विकास, आवास तथा घर-भवन निर्माणमा काठको व्यवस्थित उपयोग, आयात प्रतिस्थापन, उद्योगका लागि कच्चा पदार्थको आपूर्ति, जडीबुटी तथा आयुर्वेदिक औषधि उत्पादन, पर्यटन, काठ उत्पादन तथा बिक्री र कार्बन व्यापारलाई प्रमुख आर्थिक गतिविधिका रूपमा लिई आर्थिक र रोजगारीमा योगदान पुऱ्याउने गरी क्षेत्रगत तहमा वैज्ञानिक वन तथा चरन क्षेत्र उपयोग योजना बनाउनेछौं।
८७. बस्ती क्षेत्रमा वन्यजन्तु (मुख्यतः बाँदर, हात्ती र बाघ) र स्थानीय बासिन्दाबीच bबढ्दो द्वन्द्वलाई न्यूनीकरण गर्न वैज्ञानिक व्यवस्थापन, क्षतिपूर्ति प्रणाली सुदृढीकरण, पूर्वसूचना तथा रोकथाम संरचना विकास, र स्थानीय समुदायको सक्रिय सहभागितामा आधारित कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछौँ। खासगरी बाँदरको आतंकका कारण सिङ्गो गाउँ नै बसाइँ जानुपर्ने बाध्यात्मक अवस्थाले जनजीवन आक्रान्त भएको हुँदा बाँदर नियन्त्रणका लागि नसबन्दी, वनमा बगैँचा, बाँदरले क्षति पुऱ्याउन नसक्ने वैकल्पिक बाली लगाउन अथवा विद्युतीय छेकबार निर्माण गर्न सहयोगदेखि स्थानान्तरणसम्मका सबै उपाय अवलम्बन गरी समुदायहरूलाई यो समस्याबाट मुक्त गर्नेछौँ।
८८. सामुदायिक तथा राष्ट्रिय वनको सुरक्षाका लागि ‘वन डढेलो उच्च-सतर्कता केन्द्र’ स्थापना गरी ड्रोन र स्याटेलाइट प्रविधिमार्फत डढेलोको वास्तविक समय (रियल टाइम) मा निगरानी र नियन्त्रण गर्ने आधुनिक संयन्त्र परिचालन गर्नेछौँ। साथै पोर्टेबल पम्प र सुरक्षा उपकरणलाई वन क्षेत्र भएका प्रत्येक वडामा वितरण गरी व्यापक अग्नी नियन्त्रण प्रशिक्षण दिनेछौँ। अग्नी नियन्त्रणमा ड्रोनको परिक्षण तथा अनुसन्धान गराउनेछौँ।
८९. पूर्वाधार निर्माण र वातावरण तथा प्राकृतिक स्रोत संरक्षणको दिगो सन्तुलन कायम गर्न, वास्तविक दीर्घकालीन जोखिमहरूको उचित आँकलन तथा मूल्याङ्कन गर्न, साथै पूर्वाधार निर्माणमा चरम ढिलासुस्तीको स्रोत बनेका वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा प्राप्ति, रुख कटान स्वीकृति र निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी झन्झटिला प्रक्रिया, कानुन र कार्यविधिहरूलाई तत्काल सरलीकरण गर्नेछौँ। साथै देशभरका नदीहरूमा जलविद्युत आयोजना बन्दा गर्दा सांस्कृतिक, पारिस्थितिक र पर्यटकीय महत्व भएका केही नदीहरूलाई विस्तृत अध्ययनको आधारमा स्थायी संरक्षण दिनेछौँ।
९०. नेपालको वातावरणीय सुरक्षा र तराई-मधेसको अस्तित्वसँग जोडिएको चुरे क्षेत्रको संरक्षणलाई उच्च प्राथमिकता दिई चुरेका ढुङ्गा, गिट्टी र बालुवाको अनियन्त्रित दोहन रोक्न, तराईका नदीहरू ढुङ्गा गिट्टीले भरेर डुबानको जोखिम कम गर्न र विद्यमान विवाद अन्त्य गर्न वातावरणीय सन्तुलन नबिग्रने गरी ‘वैज्ञानिक उत्खनन तथा निर्यात कार्यविधि’ लागू गर्नेछौँ। ‘एकीकृत चुरे संरक्षण प्राधिकरण’ लाई स्थानीय, प्रदेश र संघको साझा जिम्मेवारीसहित थप अधिकार सम्पन्न बनाई चुरे संरक्षणलाई जनस्तरसम्म पुऱ्याउने र चुरेका अति संवेदनशील क्षेत्रहरूलाई ‘पूर्ण संरक्षित क्षेत्र’ घोषणा गर्नेछौँ।
९१. हामीले सबै नागरिकका लागि सुरक्षित पिउने पानी सुनिश्चित गर्नेछौँ। तराईका विभिन्न जिल्लाहरूमा देखा परेको आर्सेनिकको गम्भीर जनस्वास्थ्य सङ्कटलाई राष्ट्रिय सङ्कटको रूपमा लिँदै हामी एक शक्तिशाली ‘आर्सेनिकमुक्त तराई अभियान’ सुरु गर्नेछौँ।
९२. देशभरिका मुख्य सहरी घरमै फोहोर छुट्याउने व्यवस्था र फोहोरबाट ऊर्जा उत्पादन परियोजना सुरु गर्नेछौँ। फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्दै ‘चक्रीय अर्थतन्त्र’ प्रवर्द्धन गर्न यस क्षेत्रमा कार्यरत निजी क्षेत्र र सहकारीहरूलाई आधुनिक मेसिनरी तथा प्रविधि खरिदमा विशेष कर छुट र अनुदानको व्यवस्था गर्नेछौँ।
९३. नागरिकको स्वच्छ हावा फेर्न पाउने अधिकारलाई सुनिश्चित गर्न र पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभावलाई अन्त्य गर्न नेपालमा वायु प्रदूषणलाई विश्व स्वास्थ्य संस्थाको मापदण्ड भित्र ल्याउन बहुपक्षीय योजना लागू गर्नेछौँ। यातायात साधन, ईंटा भट्टा तथा कलकारखानाबाट हुने उत्सर्जनका नयाँ मापदण्ड बनाई कडा कार्यान्वयन गराउनुका साथै फोहोर र कृषि अवशेष खुला रूपमा जलाउने कार्यलाई पूर्णतः प्रतिबन्ध लगाउनेछौँ। दाउरा वा गुइँठाले पकाउन बाध्य भई महिला तथा बालबालिकाको स्वास्थ्यलाई जोखिममा राख्ने घरपरिवारलाई सफा इन्धनले खाना पकाउन सक्षम बनाउन नयाँ प्रभावकारी अभियान चलाउनेछौँ। सीमापारबाट आउने वायु प्रदूषण र तुवाँलो मापन गरी छिमेकी राष्ट्रहरूसँग वार्ता गर्नेछौँ।
९४. नेपालमा भूकम्प, मानव निर्मित तथा जलवायु परिवर्तनले हुने विपद्को उच्च जोखिममा रहेकोले ‘प्रतिक्रियामुखी’ मात्र नभई ‘पूर्वतयारीमुखी’ सुरक्षा नीति अवलम्बन गर्नेछौँ। सार्वजनिक र निजी भवनहरूलाई सुदृढीकरण र प्रबलीकरण गराइ कडा निर्माण तथा अग्नि सुरक्षा मापदण्ड लागू गर्नेछौँ। उच्च जोखिम क्षेत्रको अद्यावधिक जोखिम नक्साङ्कन गरी स्थानीय तहसम्म सार्वजनिक गर्नेछौँ र प्रारम्भिक चेतावनी प्रणाली विस्तार गर्नेछौँ। बाढी र पहिरोको उच्च जोखिममा रहेका बस्तीहरूलाई पहिचान गरी सुरक्षित र व्यवस्थित ‘एकीकृत बस्ती’ मा स्थानान्तरणको प्रक्रिया अघि बढाउनेछौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पर्याप्त बजेट, जनशक्ति र कानुनी अधिकारसहित ‘अधिकार सम्पन्न’ बनाउनेछौँ र कम्तीमा पाँचवटा अप्रयुक्त विमानस्थलहरूमा राहत सामाग्री भण्डारण तथा वितरण केन्द्र स्थापना गर्नुको साथै हेलिकप्टर उद्धार केन्द्रमा विकास गर्नेछौँ। सचेतना जगाउन र सम्भावित क्षति न्यूनीकरण गर्न सबै विद्यालय र सरकारी कार्यालयहरूमा वर्षको एक पटक अनिवार्य ‘विपद सुरक्षा अभ्यास’ सञ्चालन गर्ने र व्यापक प्राथमिक उपचार प्रशिक्षण गर्ने नीति लागू गर्नेछौँ।
९५. जलवायु परिवर्तन अनुकूलन तथा लचिलोपनलाई विकास योजना, पूर्वाधार डिजाइन र बजेट प्रक्रियासँग जोड्नेछौँ। ‘राष्ट्रिय जलवायु वित्त रणनीति’ स्वीकृत गरी विश्वव्यापी जलवायु कोषहरूबाट नेपालले पाउनुपर्ने क्षतिपूर्ति र अनुदान प्राप्त गर्न उच्चस्तरीय कूटनीतिक पैरवी सुरु गर्नेछौँ। नेपालको हिमाल र पर्यावरण जोगाउन जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा ‘जलवायु न्याय’ को रूपमा सशक्त ढङ्गले उठाउनेछौँ, साथै जलवायु परिवर्तनको विश्वव्यापी सङ्कटमा नेपाललाई ‘पीडित’ राष्ट्रको पहिचानबाट माथि उठाई ‘नेतृत्वदायी’ भूमिकामा पुऱ्याउनेछौँ। यसका लागि स्पष्ट ‘जलवायु कूटनीति मार्ग चित्र’ स्वीकृत गरी आगामी जलवायु सम्मेलनहरूमा नेपालको एजेन्डा र मागहरूलाई उच्चस्तरीय र प्राविधिक रूपमा सशक्त बनाउनेछौँ।

९६. नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै बदलिँदो वैश्विक भू-राजनीति र छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न हामी ‘सन्तुलित र गतिशील कूटनीति’ अवलम्बन गर्नेछौँ। छिमेकी मुलुकहरूको रणनीतिक चासो र वैश्विक शक्ति सन्तुलनमा आएको बदलावलाई मध्यनजर गर्दै नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ को रूपमा रूपान्तरण गरी त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीका माध्यमबाट राष्ट्रिय हित सुनिश्चित गर्ने प्रयास गर्नेछौँ। गत दशकमा मित्रराष्ट्र भारतले उल्लेखनीय प्रगति गरेका निम्न क्षेत्रहरूबाट नेपालले पनि लाभ लिनसक्ने गरी विकास साझेदारीको स्वरूपलाई नवीकरण गर्नेछौँ: डिजिटल पब्लिक पूर्वाधार; उच्च गतिमा बनेका गुणस्तरीय भौतिक पूर्वाधार; अर्थतन्त्रको औपचारिकीकरण; उत्पादनमूलक उद्योग र सेवा क्षेत्रबीचको सामञ्जस्य र समग्र राज्य सक्षमताको वृद्धि आदि। त्यस्तै, मित्रराष्ट्र चीनसँग सहुलियतपूर्ण वित्तको परिचालन मार्फत विश्व स्तरीय पूर्वाधार निर्माण, आर्थिक-सामाजिक विकासका लागि राज्य-निर्देशित लक्ष्य र कार्यक्रम; अन्तरप्रादेशिक प्रतिस्पर्धाका अनुकरणीय विषयहरूलाई साझेदारीका पाटा बनाउनेछौँ।

९७. नेपालको भौगोलिक अखण्डता अक्षुण्ण राख्न र सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बललाई आधुनिक प्रविधि, पर्याप्त जनशक्ति र उच्च क्षमताको भौतिक पूर्वाधारसहित एक विशिष्टीकृत ‘सीमा सुरक्षा बल’ का रूपमा परिचालन गर्नेछौँ। सीमा नाकाहरूमा नाइट-भिजन क्यामेरा, ड्रोन निगरानी र डिजिटल इन्ट्री-एक्जिट रेकर्ड प्रणाली लागू गरी तस्करी, अवैध ओसारपसार र क्रस-बोर्डर अपराधलाई शून्यमा झार्नेछौँ। सीमा विवाद र पुराना सन्धि-सम्झौताहरूलाई भावनामा मात्र सीमित नराखी तथ्य र प्रमाणका आधारमा संस्थागत संवाद मार्फत स्थायी रूपमा टुङ्ग्याउन उच्चस्तरीय कूटनीतिक पहल गर्नेछौँ। सीमाको पहिलो पहरेदारका रूपमा रहेका सीमावर्ती बासिन्दाहरूलाई ‘सीमा परिचय पत्र’ वितरण गर्नेछौँ र उनीहरूको शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनका लागि विशेष सहुलियत र पूर्वाधारका कार्यक्रमहरू सञ्चालन गर्नेछौँ। सीमालाई केवल नियन्त्रणको थलो मात्र नभई ‘आर्थिक गेटवे’ का रूपमा विकास गर्दै दोधारा-चाँदनी ड्राइपोर्ट र अन्य व्यापारिक नाकाहरूमा भन्सार प्रक्रियाको पूर्ण डिजिटाइजेसन गरी वैध व्यापारलाई सहजीकरण गर्नेछौँ। नेपालको आन्तरिक राजनीति, निर्वाचन प्रक्रिया र लोकतान्त्रिक मूल्य-मान्यतामाथि हुने कुनै पनि अवाञ्छित हस्तक्षेप निस्तेज पार्न राष्ट्रिय सुरक्षा संयन्त्रलाई सतर्क बनाउनेछौँ।
९८. नेपालका कूटनीतिक नियोगहरूको काम र जिम्मेवारी बढाउनेछौँ। राजनीतिक भागबण्डाको थलो बन्न नदिई प्रत्येक कूटनीतिक नियोगको सक्रियता र नतिजा मापन गर्न वैज्ञानिक ‘परफरमेन्स अडिट’ प्रणाली सुरु गरी कूटनीतिलाई देशको आर्थिक समृद्धिको बलियो आधार बनाउनेछौँ। विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरूले राज्यको उपस्थिति महसुस गर्न सकून् भन्नका लागि कूटनीतिक सेवालाई ‘सुरक्षा र सुविधा’ केन्द्रित बनाउनेछौँ। दूतावासको लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य गर्न ‘डिजिटल कन्सुलर सेवा’ को पाइलट प्रोजेक्ट सुरु गरी राहदानी नवीकरण र कागजात प्रमाणीकरणलाई पूर्णतः अनलाइन र झन्झटमुक्त बनाउनेछौँ। विदेशमा रहेका नेपालीहरूका समस्या तत्काल सम्बोधन गर्न परराष्ट्र मन्त्रालयमा २४/७ सक्रिय रहने ‘सेन्ट्रल रेस्पोन्स युनिट’ र प्रत्येक नियोगमा स्थलगत उद्धारका लागि ‘द्रुत टोली’ परिचालन गर्नेछौँ। परम्परागत कूटनीतिलाई ‘आर्थिक कूटनीति’ मा बदल्न प्रमुख व्यापारिक साझेदार देशहरूमा ‘इकोनोमिक कन्सुलर’ को सङ्ख्या थप गरी निर्यात, पर्यटन र लगानी प्रवर्द्धनमा केन्द्रित गर्नेछौँ।

९९. रास्वपाले प्रवासका नेपालीहरूलाई देशको आर्थिक रूपान्तरणको मुख्य आधार स्तम्भको रूपमा हेर्दछ। विदेशमा रहेका नेपालीहरूका लागि मतदानको अधिकार प्रदान गर्नुको साथै गैर-आवासीय नेपालीहरूको ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनात्मक सम्बन्धलाई कदर गर्दै केही विशिष्ट अपवाद बाहेक सैद्धान्तिकतः दोहोरो नागरिकताको पक्षमा उभिँदै सम्पत्तिको अधिकारमा रहेका प्रशासनिक झन्झटहरूलाई तत्काल अन्त्य गर्नेछौँ। गैर-आवासीय नेपालीहरूको पूँजीलाई नेपालका ठूला पूर्वाधार र नवप्रवर्तनमा लगानी गर्नका लागि विशेष कानुनी सुरक्षा, ‘डलर खाता’ को सहजता, र प्रतिफललाई सहज फिर्ता लान सक्ने कानुनी प्रावधान बनाउनेछौं। प्रवासमा रहेको उच्च तहको ज्ञान, सीप र प्रविधिलाई स्वदेशको शिक्षा, स्वास्थ्य र उद्योगसँग प्रत्यक्ष जोड्ने ‘राष्ट्रिय ज्ञान बैंक’ स्थापना गर्नेछौं। संसारको जुनसुकै कुनामा रहेका नेपालीहरूले नेपालको पर्यटन, संस्कृति र लगानीको प्रवर्द्धन गर्ने ‘स्वयंसेवी दूत’ को रूपमा काम गर्ने वातावरण र संयन्त्र बनाउनेछौं। प्रवास मार्फत नेपाली भाषा, कला र मौलिक पहिचानलाई विश्वका प्रमुख सहरहरूमा जीवन्त रूपमा फैलाइएको हुनेछ, जसले नेपालको ‘सफ्ट पावर’ लाई मजबुत बनाएको हुनेछ।

१००. देश बनाउँछु भन्दै उदाएका, तर सत्ता मा पुगेपछि बिग्रेका दलहरूको लामो इतिहास छ। हामीले बाटो नबिराउन बलियो संयन्त्र बनाउनेछौं। पार्टीका प्रत्येक सदस्यले नम्रता, परिश्रम, सेवा, जवाफदेहिता र सबै प्रति सम्मान गर्ने आचारसंहिताको पालना गर्नु पर्नेछ। हामी भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको अभ्यास गर्नेछौं र हामी पार्टीको अनुशासन आयोगलाई थप बलियो बनाउनेछौं।



बुबा र छोरा पक्राउ

काठमाडौं । ठगी तथा बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेका दुई प्रतिवादी पक्राउ परेका छन्।

पुनम पोखरेल काफ्ले लगायतको जाहेरीका आधारमा फरार रहेका जीवनकुमार ठाकुर र उनका छोरा निहाल ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो। बुवा–छोरा रहेका उनीहरूलाई काठमाडौंको बसुन्धाराबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जीवनकुमारले काठमाडौंको न्यूरोडमा करिब १५ वर्षदेखि स्वर्ण सुनचाँदी पसल आफ्नो छोराको नाममा दर्ता गरी सञ्चालन गर्दै आएका थिए। तर पछिल्लो ८ महिनादेखि उनीहरू ग्राहकहरूलाई ठगी गरेर सम्पर्कविहीन भई फरार रहेका थिए।

उनीहरूले टिकटकमार्फत पुराना सुनचाँदीका गहना सस्तो दरमा बनाइदिने भन्दै प्रचारसमेत गर्ने गरेको खुलेको छ।

उनीहरूविरुद्ध एक करोड २० लाख ९२ हजार ९६७ रुपैयाँ बिगो दाबी गरिएको प्रहरीले जनाएको छ।

एनपीएल-२ बाट क्यानलाई ९ करोड २१ लाख नाफा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमिति बैठकले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आम्दानी र खर्च विवरण पारित गरेको छ।

बैठकमा क्यानअन्तर्गतको नेपाल प्रिमियर लिग परिचालन परिषद् (गभर्निङ काउन्सिल)ले पेश गरेको विवरणअनुसार एनपीएल २ बाट कुल ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ।

प्रतियोगिता सञ्चालनका क्रममा २१ करोड ९६ लाख ५ हजार १ सय २१ रुपैयाँ खर्च भएको देखिएको छ। यसअनुसार खर्च कटाएर क्यानले करिब २५ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ।

उक्त आम्दानीमध्ये ५० प्रतिशत रकम ८ वटा फ्रेन्चाइज टोलीहरूलाई वितरण गरिएको छ, जुन करिब १६ करोड १८ लाख रुपैयाँभन्दा बढी हुन्छ।

सबै बाँडफाँडपछि क्यानलाई ९ करोड २१ लाख २१ हजार ९ सय ३५ रुपैयाँ बचत भएको विवरणमा उल्लेख गरिएको छ।

नेपालमै यस्तो आविष्कार : के हो ‘काचाल्का’ प्रविधि?

काठमाडौं। कृषिलाई व्यावसायिक रूपमा रूपान्तरण गर्दै कम लागतमा बढी उत्पादन हासिल गर्नु  प्रमुख आवश्यकता मात्र नभई अनिवार्यता बनेको छ।

नेपालका विभिन्न कृषि विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूले यस क्षेत्रमा अध्ययन-अनुसन्धान गरिरहेका छन्। तर, ती अनुसन्धानका धेरै निष्कर्ष व्यवहारमा प्रभावकारी रूपमा लागू हुन नसक्दा कागजमै सीमित हुने अवस्था देखिएको छ।

अपेक्षित कृषि उत्पादनका लागि मल र बिउ उपलब्ध भए पनि सिँचाइ प्रणालीको उपयुक्त प्रयोगबिना उत्पादन सम्भव हुँदैन। पानीको मात्रा, माटोको प्रकार र बालीअनुसार सिँचाइ विधि निर्धारण गर्नु आवश्यक हुन्छ। यसका लागि उपलब्ध प्रविधि र उपकरणलाई स्थानीयस्तरमा व्यवहारमै आधारित बनाउनु जरुरी छ।

यही सन्दर्भमा ‘काचाल्का’ (डिस्क्रेट इरिगेट सिस्टम) सिँचाइ प्रविधि प्रभावकारी विकल्पका रूपमा देखिएको छ। कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा २३ वर्ष प्राध्यापन गरेका प्रा.डा. ईश्वर भगवानदास मानन्धरले विकास गरेको यो प्रविधि अहिले चितवनको भरतपुर-१६, विजयनगरमा चर्चामा छ।

सन् १९९३ मा विद्यावारिधि अध्ययनका क्रममा रुसमा विकास भएको यो प्रविधिलाई मानन्धरले नेपाली माटोअनुकूल परिमार्जन गर्दै आफ्नै चार कट्ठा जग्गामा सुन-कागती खेतीमार्फत परीक्षण गरी प्रमाणित गरेका छन्।

सामान्यतया ट्याङ्की वा ड्रममार्फत गरिने सतह सिँचाइमा धेरै पानी खेर जाने गर्छ। तर, काचाल्का प्रविधिले बिरुवालाई आवश्यक मात्रामा पानी थोपा-थोपा रूपमा पुर्‍याई पानी बचत गर्न मद्दत गर्छ। लामो अनुसन्धान र अनुभवका आधारमा विकास गरिएको यस प्रविधिलाई मानन्धरले अवकाशपछि व्यवहारमै प्रयोगमा ल्याएका हुन्।

उनले भने,‘कर्तव्य पूरा गर्न अब म आफैँ फिल्डमा आएको छु । मैले जागिर नै छोडेर अहिले कृषिमा लागेको छु। यो प्रविधि किसानहरूसम्म व्यावहारिक रूपमा पु-याउनु नै मेरो उद्देश्य र कर्तव्य पनि हो ।’

उनले किसानसमक्ष यो प्रविधि पुर्‍याउने लक्ष्यसहित आफ्नै खेतबारीमा प्रयोग गरिरहेका छन्। झट्ट हेर्दा सामान्य सतह सिँचाइ जस्तो देखिए पनि यसमा वैज्ञानिक रूपमा प्रमाणित प्रणाली प्रयोग गरिएको छ, जसले पानीको खपत घटाउँदै उत्पादन र सिँचाइ दक्षता बढाउँछ।

उनले भने, ‘काचाल्का सतहमा आधारित, मेकनाइज गरिएको सेमि-अटोमेटिक इरिगेसन सिस्टम हो, जसले बिरुवा वा खेतलाई आवश्यक मात्र पानी मात्र उपलब्ध गराउन सक्छ । खेतको आकार अनुसार पानी वितरण गर्न सकिन्छ । यो प्रविधि थोपा-स्प्रिङकलिङ प्रणालीभन्दा सस्तो छ । किसानले आफैँ निरीक्षण गरेर बिग्रिएको भाग देख्न र आवश्यक परे आफैँ बनाउन पनि सक्छन् ।’

उनका अनुसार ‘काचाल्का’ रूसी शब्द हो, जसले पानी व्यवस्थापनका लागि प्रयोग हुने सानो ट्याङ्की वा चेम्बर जनाउँछ। यस प्रणालीमार्फत मुख्य मुहानबाट आएको पानी सानो संरचनामा संकलन गरी आवश्यकताअनुसार वितरण गरिन्छ, जसले पानीको दबाब र प्रवाह नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ।

यस प्रविधिको सिँचाइ दक्षता करिब ९३ प्रतिशत र पानी वितरणको समानता ९५ प्रतिशत रहेको दाबी गरिएको छ। इच्छुक किसानले यो प्रविधि अपनाउन चाहेमा आवश्यक सहयोग उपलब्ध गराइने मानन्धरले बताएका छन्। साथै, चितवनको कृषि विकास कार्यालयमार्फत पनि जानकारी लिन सकिनेछ।

किसानले आफैं मर्मत गर्न सक्ने र माटोअनुसार पानी नियन्त्रण गर्न मिल्ने भएकाले यो प्रविधि व्यावसायिक कृषिका लागि उपयोगी मानिएको छ। हाल मानन्धरले आफ्नै लगानीमा यो प्रविधि किसानसम्म पुर्‍याउने अभियान सञ्चालन गरिरहेका छन्। स्थानीयका अनुसार यो प्रविधि किसानमैत्री र मितव्ययी दुवै छ।

प्रधानमन्त्री बालेन र रास्वपाले बाचा तोडे, सार्वजनिक गरेनन् सम्पत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुशासन र पारदर्शीतासँग सम्बन्धित बाचा तोडेको छ ।

‘प्रियतावाद’मा झुकाव राख्ने यो दलले आफ्नो बाचापत्रमा उल्लिखित सार्वजनिक पद सम्हाल्नुअघि सम्पत्ति विवरण सार्वजनिक गर्ने बाचा तोडेको हो ।

रास्वपाबाट सार्वजनिक पद धारण गर्नेहरू प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोविता गौतम, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कृषिमन्त्री गीता चौधरी, सञ्चारमन्त्री विक्रम तिमल्सिना, श्रममन्त्री दीपक साह श्रममन्त्री, शिक्षामन्त्री सस्मित पोखरेल, पर्यटनमन्त्री खड्क पौडेल, भौतिकमन्त्री सुनिल लम्साल, महिलामन्त्री सीता वादी र स्वास्थ्यमन्त्री निशा मेहता हुन् ।

नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्याल र महान्यायाधिवक्ता डा. नारायणदत्त कडेल पनि छन् । तर, सार्वजनिक पद धारण गर्नुअघि कसैले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेनन् ।

गत ७ फागुनमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रास्वपाले १०० बुँदे बाचापत्र सार्वजनिक गरेको थियो । बाचापत्रको १६ नम्बरमा सम्पत्ति विवरण सार्वजनिक पद सम्हाल्नुअघि नै सार्वजनिक गर्ने बाचा थियो ।

‘सार्वजनिक पद सम्हाल्नुअघि हामी आफ्नो सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्नेछौँ । निर्वाचनअघि र आफ्नो कार्यकाल पूरा भएपछि हामी र हाम्रो परिवारको सम्पत्तिमा कति परिवर्तन आयो ? त्यसको स्वतन्त्र लेखा परीक्षण गराएर जनतामाझ सार्वजनिक गर्नेछौँ । स्वार्थको द्वन्द्व हुने कुनै निर्णय, नीति वा कानुन निर्माण प्रक्रियामा आफू र आफ्नो व्यवसायलाई फाइदा पुग्नेगरी संलग्न नहुने स्पष्ट ग्यारेन्टी गर्छौँ । परिवारवादको अन्त्य गर्न आफ्ना आफन्तलाई स्वकीय सचिवजस्ता पदमा नियुक्त गर्न नपाउने व्यवस्था गर्छौँ,’ रास्वपाको बाचा थियो । यो बाचा सुशासन र पारदर्शीतासँग सम्बन्धित हो ।

विगतमा कतिपय सार्वजनिक पदधारण गरेका अधिकारीहरूले सम्पत्ति विवरण सार्वजनिक नगर्दा वा ढिलाइ गर्दा रास्वपा नेता कार्यकर्ताहरू सर्वाधिक आलोचना गर्थे ।

शासनसत्तामा सुशासन र पारदशीर्तासँगै जवाफदेहीताका लागि उनीहरूले गर्ने आलोचनालाई मानिसहरू समर्थन गर्थे ।

लोकतान्त्रिक शासन प्रणालीमा सार्वजनिक पदमा बस्नेहरूलाई जनउत्तरदायी बनाउन आवश्यक मानिन्छ ।

तर, विगतमा आलोचना गर्ने दल रास्वपा र उक्त दलबाट प्रधानमन्त्री, मन्त्री, सभामुख र महान्यायाधिवक्ता भएका कसैले सम्पत्ति विवरण सार्वजनिक नगरेर आफ्नै बाचापत्रको खिल्ली उडाएका छन् ।

जबकि, बालेन सरकार पारदर्शीता, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि भएको जेन–जी विद्रोहको पृष्ठभूमिमा बनेको हो ।

विद्रोहको यो दलले औपचारिक रूपमा स्वामित्व ग्रहण गरेको छैन । तर, विद्रोहको ‘म्यान्डेट’ बालेन सरकारलाई छ । उनलाई प्रधानमन्त्री बनाएको दल रास्वपालाई छ ।

राजनीतिशास्त्री प्रा.डा. तारानाथ घिमिरे बाचा पूरा नगरेर राप्रपाले जनतामाथि बेइमानी गरेको टिप्पणी गर्छन् ।

उनले नेपालवान एचडीसँग भने, ‘यो उहाँहरूले नियुक्त हुनेबित्तिकै गर्नुपर्ने काम थियो । सुशासन कायम गर्ने र अहिलेसम्म भएका भ्रष्टाचारलाई जाँचबुझ गरेर टुङ्गो लगाउनुपर्ने बालेन सरकार र रास्वपा आफैँ पारदर्शितामा पछाडि पर्नु दुःखद हो ।’

कांग्रेस, एमाले, नेकपा, राप्रपालगायत दलहरूले ३५ वर्ष शासनसत्ता चलाए । यसबीचमा सुशासन र पारदर्शीतामा यी दलहरू कमजोर भए ।

‘नयाँ’, जान्नेलाई छान्नेदेखि ‘देश बनाउने’ शक्ति भनिएका रास्वपाले आफ्नै बाचालाई डेढ महिनामै भुलेको छ । यसले रास्वपा र बालेन सरकारप्रति आलोचना हुन थालेको छ ।

तर, सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा. राम लामाले पारदर्शीता र सुशासनको अपेक्षासहित जनताबाट रास्वपाले अभूतपूर्व मत पाएको बताए ।

उनले मतदाताहरूप्रति आभार प्रकट गरे । ‘विशेषगरी परिवर्तन, पारदर्शीता, सुशासनको अपेक्षासहित राष्ट्रिय स्तवन्त्र पार्टीप्रति अभूतपूर्व विश्वास व्यक्त गर्नुहुने सम्पूर्ण मतदाताप्रति म आभार प्रकट गर्न चाहन्छु,’ उनले विशेष समयमा भने ।

रास्वपाकै अर्की सांसद निशा डाँगीले पनि रास्वपाले प्राप्त गरेको जनमत सुशासन, पारदर्शीता र जनउत्तरदायीसँग सम्बिन्धत रहेको बताइन् ।

तर, भाषणबाजी र बाचापत्रमा सुशासन र पारदर्शीताको कुरा गर्ने रास्वपाको व्यवहार भने ठीक उल्टो देखिएको छ ।

उत्तर कोरियामा ड्रोन खसालेपछि आक्रमण गर्ने किमको चेतावनी

एजेन्सी। आफ्नो मुलुकबाट उडेको चालकरहित हवाइ उपकरण (ड्रोन) उत्तर कोरियाली आकाश प्रवेश गरेको घटनामा दक्षिण कोरियाका राष्ट्रपतिले खेद प्रकट गरेका छन् । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले आफ्नो मुलुकबाट उडेको ड्रोन उत्तर कोरिया प्रवेश गरेको विषयमा खेद प्रकट गरेका हुन् ।

उनले यस घटनालाई दुर्भाग्य भन्दै आफ्नो सरकारका तर्फबाट नभइ कुनै व्यक्तिले उक्त ड्रोन उडाएको हुनसक्ने उल्लेख गरे । उनले आइन्दा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

केही गैरजिम्मेवार र लापरवाही व्यक्तिको गतिविधिका कारण उत्तरसँग अनावश्यक सैन्य तनाव बढेको उनले मन्त्रिपरिषद् बैठकमा जानकारी दिए । उनले आफ्नो मुलुकका अधिकारीले यसबारे छानबिन गर्दा राष्ट्रिय अनुसन्धान सेवाका कर्मचारी र एक जना सैन्य अधिकारी यस घटनामा संलग्न रहेको पाइएको बताए ।

उनले दक्षिण कोरियाली संविधानले उत्तरविरुद्ध उत्तेजना निम्त्याउन कसैलाई पनि छुट नदिएको स्पष्ट पारेका छन् । उत्तर कोरियाले गत जनवरी महिनामा दक्षिणबाट उडेका ड्रोन आफ्नो आकाश प्रवेश गरेको भन्दै कडा आक्रोश व्यक्त गरेको थियो ।

उत्तरले गम्भीर उत्तेजना निम्त्याउन दक्षिण कोरियाले आफ्नो आकाशमा ड्रोन उडाएको आरोप लगाएको थियो । उत्तरले उक्त ड्रोन आकाशमै नष्ट पारेको थियो ।

उक्त घटनापछि उत्तर कोरियाले कडा प्रतिक्रिया जनाउँदै फेब्रुअरीमा पुनः यस्ता ड्रोन आफ्नो क्षेत्रमा प्रवेश गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो। प्योङयाङले जनवरीको सुरुमै निगरानी उपकरण बोकेको ड्रोन खसालेको दाबी गर्दै त्यसका भग्नावशेषका तस्बिर सार्वजनिक गरेको थियो, जसमा क्यामेरा जडान भएको देखिएको बताइएको छ।

राष्ट्रपति लीले केही व्यक्तिका कारण उत्पन्न तनावप्रति उत्तर कोरियासँग खेद व्यक्त गर्दै यस्ता गतिविधि अत्यन्त सावधानीका साथ सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले राष्ट्रिय सुरक्षासम्बन्धी कदमहरू जिम्मेवार ढंगले चालिनुपर्ने र संविधानअनुसार निजी व्यक्तिले उत्तर कोरियालाई उक्साउने कार्य गर्न नपाउने पनि उल्लेख गरे।

गत वर्ष पदभार सम्हालेका लीले उत्तर कोरियासँग सम्बन्ध सुधार गर्ने प्रयास गर्दै आएका छन्।

कुन कुन हुन् यो वर्षका टप-५ नेपाली फिल्म ?

काठमाडौं। वर्ष २०८२ मा ५६ वटा नेपाली फिल्म प्रदर्शन भएका छन्। तीमध्ये अधिकांश फिल्म सामाजिक तथा पारिवारिक कथा, समुदायका संघर्षसँगै एक्सन, रोमान्स, प्रेम र कमेडी विधामा आधारित रहेका थिए। सीमित फिल्म मात्र व्यापारिक रूपमा सफल भए भने केही फिल्मले अपेक्षाअनुसार दर्शक र व्यापार दुवै पाउन सकेनन्।

फिल्म घोषणादेखि चर्चामा रहेका ‘भूठान’, ‘नरसिंहा अवतार’, ‘माग्ने राजा’, ‘कोशेढुङ्गा’, ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’, ‘मन बिनाको धन’, ‘अभिमन्यूः च्याप्टर वान’, ‘झरीपछिको इन्द्रेणी’, ‘एक्लो’, ‘भाइरल गोर्खे’ र ‘गोबर गणेश’ जस्ता फिल्म व्यापारिक रूपमा पछि परेका छन्।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको वार्षिक समरी-२०८२ अनुसार यस वर्ष सर्वाधिक कमाउने फिल्म ‘परान’ बनेको छ। फिल्मले १७ करोडभन्दा बढीको व्यापार गरेको उल्लेख छ।

यस वर्षका प्रमुख पाँच फिल्म:

  •  परान
    ‘परान’ वर्षकै सर्वाधिक कमाउने फिल्म बनेको छ, जसले १७ करोड ७६ लाखभन्दा बढी कलेक्सन गरेको छ। दीपकप्रसाद आचार्य निर्देशित यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी लगायत कलाकारको अभिनय छ। फिल्म बुबा-छोराबीचको सम्बन्ध, पारिवारिक विछोड र विदेशिने प्रवृत्तिबाट उत्पन्न भावनात्मक कथा वरिपरि केन्द्रित रहेको छ।
  •  आ बाट आमा
    चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’ दोस्रो स्थानमा रहँदै १३ करोडभन्दा बढी व्यापार गर्न सफल भएको छ। प्रदीप रावत, बिपना थापा, पल शाहलगायत कलाकारको अभिनय रहेको फिल्मले आमाबाबु र सन्तानबीचको सम्बन्ध, पारिवारिक जिम्मेवारी र भावनात्मक पक्षलाई प्रस्तुत गरेको छ।
  • जेरी अन टप
    सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’ तेस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ। अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङलगायत कलाकार रहेको यो फिल्म सगरमाथा आरोहण, प्रेम र चुनौतीको कथामा आधारित छ। यो फिल्म चर्चित ‘जेरी’ को सिक्वेल हो।
  • ऊनको स्वीटर
    नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ चौथो स्थानमा रह्यो। विपिन कार्की र मिरुना मगरको मुख्य अभिनय रहेको यस फिल्मले प्रेम, सामाजिक भिन्नता र पारिवारिक सम्बन्धको कथा प्रस्तुत गरेको छ। यो निर्देशक चौहानको डेब्यु फिल्म हो।
  • जारी २ : सङ अफ च्याब्रुङ
    उपेन्द्र सुब्बा निर्देशित ‘जारी २ : सङ अफ च्याब्रुङ’ पाँचौं स्थानमा रहेको छ। लिम्बू संस्कृति, परम्परा र सामाजिक परिवेशमा आधारित यस फिल्मले लिम्बू समुदायको सांस्कृतिक पहिचान तथा वैवाहिक जीवनका उतारचढावलाई चित्रण गरेको छ।

त्यसैगरी, चलचित्र विकास बोर्डका अनुसार यस वर्ष प्रदर्शन भएका फिल्ममध्ये केहीले मात्र अपेक्षित सफलता हासिल गरेका छन् भने बाँकी फिल्म व्यापारिक रूपमा कमजोर देखिएका छन्।

साझाले बनायो डिजेल बसलाई ईभी

काठमाडौं। साझा यातायातले डिजेलबाट सञ्चालन हुने बसलाई विद्युतीय बस (ईभी) मा रूपान्तरण गर्न सफल भएको छ। साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार संस्थाको प्राविधिक टोलीले लामो प्रयासपछि डिजेल बसलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्न सफल भएको हो।

करिब तीन वर्षको तयारीपछि २०८१ वैशाखमा पहिलो बसलाई ईभीमा रूपान्तरण गरी सञ्चालनमा ल्याइएकोर्यकारी अधिकृत अर्यालले जानकारी दिए। अर्यालका अनुसार पहिलो पटक यस्तो रूपान्तरण गर्दा आवश्यक उपकरणको व्यवस्थापन, नीतिगत चुनौती तथा प्राविधिक जटिलतासहित विभिन्न कठिनाइ सामना गर्नुपरेको थियो। ती सबै प्रक्रिया पार गर्दै करिब ६ महिनाको अवधिमा काम सम्पन्न गरिएको उनले बताए।

उनका अनुसार यो अनुभवका आधारमा साझा यातायातले आफ्ना सञ्चालनमा रहेका ७१ वटा डिजेल बसलाई क्रमशः विद्युतीय बसमा रूपान्तरण गर्ने योजना बनाएको छ। तर हाल सरकारको मापदण्ड र आवश्यक नीतिगत प्रावधान स्पष्ट नभएकाले केही समय कुर्नुपर्ने अवस्था रहेको उनले बताए।

यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम इन्धनमा सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने निर्णय गरेको थियो।

अर्यालले स्पाइनल इन्जुरी रिह्याबिलिटेशन सेन्टरसँगको सहकार्यमा प्राप्त १४ वर्ष पुरानो बसलाई पाइलट प्रोजेक्टका रूपमा प्रयोग गरी रूपान्तरण गरिएको जानकारी दिए। सो परियोजनामा करिब ८० लाख रुपैयाँ खर्च भएको थियो, जसमा कन्भर्सन किट र इन्जिन तथा मोटर व्यवस्थापनका लागि आवश्यक खर्च समावेश थियो।

उनका अनुसार उपकरण आयातमा लाग्ने कर तथा प्रक्रियागत ढिलाइका कारण लागत र समय दुवै बढेको हो। प्रारम्भिक परीक्षणका क्रममा आवश्यक सामान ल्याउँदा विमानस्थलमै लामो समय रोक्नुपरेको अनुभव पनि उनले सुनाए।

बढ्दो संख्यामा रूपान्तरण गर्दा लागत घट्न सक्ने अपेक्षा साझा यातायातको रहेको छ।

गृहमन्त्री गुरुङले लिजमा लिएको भनिएको जग्गा : कस्तो छ ? (तस्वीरहरु)

पोखरा। फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका-२२ सिम्ले क्षेत्रमा गृहमन्त्री सुधन गुरुङले लिजमा लिएको भनिएको जग्गा अहिले चर्चामा आएको छ। सो स्थानमा निर्माण गरिएको संरचना हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको हो ।

संरचनामा ताल्चा लगाइएको छ भने वरपर झाडीले ढाकिएको छ। स्थानीयका अनुसार उक्त जग्गा फेवातालको मापदण्डभित्र पर्ने देखिन्छ, जहाँ पोखरा महानगरपालिकाले हालै सीमा स्तम्भसमेत गाडेको छ।

यसैबीच, महानगरपालिकाले फेवाताल आसपास बनाइएका टहरा हटाउने अभियानअन्तर्गत शनिबार बिहानदेखि डोजर प्रयोग गरेर संरचना हटाउने काम सुरु गरेको थियो।

यसै सन्दर्भमा गृहमन्त्री गुरुङले उक्त जग्गाबारे प्रतिक्रिया दिँदै आफू ठगिएको दाबी गरेका छन् र कानुनी प्रक्रियामा जाने बताएका छन्।

तस्वीरहरु:

बिचौलिया भन्दै प्रहरीले धरपकड गरेपछि,लेखापढी व्यवसायीको ‘पेन डाउन’

ललितपुर। नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन, पाटन इकाई समितिले आफ्ना सदस्यहरूमाथि प्रहरीले गरेको धरपकड र गिरफ्तारीप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेको छ।

समितिले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरबाट पर्याप्त आधार र प्रमाणबिना व्यवसायीहरूलाई ‘बिचौलिया’ भनेर पक्राउ गरिएको भन्दै उक्त कार्यको विरोध गरेको हो।

समितिका अनुसार २०८२ चैत २२ गते मालपोत कार्यालय ललितपुरमा कार्यरत व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी परिसर जावलाखेल पुर्‍याएको थियो। कानुनी अनुमति लिएर सञ्चालनमा रहेका भू-सेवा केन्द्रका सञ्चालक तथा लेखापढी व्यवसायीहरूलाई अपराधीजस्तो व्यवहार गरिएको भन्दै समितिले आपत्ति जनाएको छ।

सचिव भरत घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० र लेखापढी व्यवसायी सम्बन्धी नियमावली २०५१ अन्तर्गत प्रमाणपत्र प्राप्त गरी सेवा दिँदै आएको उल्लेख छ। साथै भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशिका २०७६ अनुसार सञ्चालनमा रहेका भू-सेवा केन्द्रका व्यवसायीलाई बिचौलिया भन्नु गलत र अपमानजनक भएको दाबी गरिएको छ।

प्रहरीको व्यवहारले पेशागत मर्यादा तथा संवैधानिक अधिकारमा असर पुगेको निष्कर्ष निकाल्दै एशोसिएशनले विरोधस्वरूप देशभरका लेखापढी व्यवसायीहरूले अर्को सूचना नआएसम्म पेन डाउन गर्ने निर्णय गरेको छ।

पेन डाउनका क्रममा लुकिछिपी सेवा सञ्चालन गरेमा विधानअनुसार कारबाही हुने र संस्थाले कुनै सहयोग नगर्ने पनि स्पष्ट पारिएको छ।

एशोसिएशनले राज्य पक्षबाट भएको व्यवहार सुधार गरी पेशा-व्यवसाय निर्वाध रूपमा सञ्चालन गर्न सकिने वातावरण सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने जनाएको छ। आइतबार पक्राउ परेका व्यवसायीहरू भने रिहा भइसकेका छन्।

सुदूरपश्चिममा कांग्रेस सांसद भट्ट वन मन्त्री नियुक्त

कैलाली। बैतडीबाट प्रदेश सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद शिवराज भट्ट सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्।

मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई मन्त्रीमा नियुक्त गरी सो सम्बन्धमा प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराइसकेका छन्। उक्त मन्त्रालय असारदेखि रिक्त रहेकाले मुख्यमन्त्री शाहले नै त्यसको जिम्मेवारी सम्हाल्दै आएका थिए। नवनियुक्त मन्त्री भट्टले आज साँझ ५ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

बैतडी प्रदेशसभा क्षेत्र नं. २ बाट निर्वाचित भट्ट यसअघि कानुन मन्त्रीको जिम्मेवारीमा रहेका थिए। संसदीय दलको बैठकले उनलाई मन्त्री बनाउने निर्णय गरेको हो।

यसैगरी बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको संघीय सरकारलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ।

त्यसैगरी बैठकले आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि आवश्यक सल्लाह–सुझाव दिन तीन सदस्यीय बजेट सुझाव समिति गठन गरेको छ। संसदीय दलका प्रमुख सचेतक विक्रम सिंह धामीको संयोजकत्वमा गठित उक्त समितिमा गीता कुमारी चौधरी र पदमबहादुर शाही सदस्य रहेका छन्।

इरानी गुप्तचर मारिए

एजेन्सी। इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले आफ्नो गुप्तचर प्रमुख मारिएको जनाएको छ। इरानी सञ्चारमाध्यममा प्रकाशित विज्ञप्तिअनुसार मजिद खदेमी सोमबार बिहान मारिएका हुन्।

घटनाका लागि आईआरजीसीले अमेरिका र इजरायललाई दोषी ठहर गरेको छ। यस विषयमा प्रतिक्रिया माग्दा इजरायली रक्षा बल (आईडीएफ)ले उक्त खबरबारे अनुसन्धान गर्ने बताएको छ। खदेमीले यसअघि मोहमद काजेमीलाई प्रतिस्थापन गरेका थिए। काजेमी २०२५ जुन १५ मा भएको इजरायली आक्रमणमा मारिएका थिए, जुन १२ दिने इरान–इजरायल द्वन्द्वको क्रममा भएको थियो।

खदेमीले यस वर्ष फेब्रुअरी र जनवरीमा भएका सरकारविरोधी आन्दोलनपछि डोनाल्ड ट्रम्पमाथि गरिएको कथित हत्या योजनालाई प्रोत्साहन गरेको आरोप लगाएका थिए। उनका अनुसार यस्तो रणनीतिले मृत्यु संख्या बढाएर विदेशी सैन्य हस्तक्षेपलाई औचित्य दिने प्रयास गरिएको थियो।

त्यसै क्रममा उनले इरानमा फैलिएको आन्दोलनमा इजरायलको साइबर तथा गुप्तचर इकाइ युनिट ८२०० सहित १० भन्दा बढी विदेशी गुप्तचर निकाय संलग्न रहेको दाबी गरेका थिए।

अमेरिकास्थित मानव अधिकार अभियन्ता न्युज एजेन्सीका अनुसार जनवरीमा भएको दमनका क्रममा इरानमा कम्तीमा ७ हजार जनाको ज्यान गएको उल्लेख छ।