`

सुदूरपश्चिममा कांग्रेस सांसद भट्ट वन मन्त्री नियुक्त

कैलाली। बैतडीबाट प्रदेश सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद शिवराज भट्ट सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्।

मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई मन्त्रीमा नियुक्त गरी सो सम्बन्धमा प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराइसकेका छन्। उक्त मन्त्रालय असारदेखि रिक्त रहेकाले मुख्यमन्त्री शाहले नै त्यसको जिम्मेवारी सम्हाल्दै आएका थिए। नवनियुक्त मन्त्री भट्टले आज साँझ ५ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

बैतडी प्रदेशसभा क्षेत्र नं. २ बाट निर्वाचित भट्ट यसअघि कानुन मन्त्रीको जिम्मेवारीमा रहेका थिए। संसदीय दलको बैठकले उनलाई मन्त्री बनाउने निर्णय गरेको हो।

यसैगरी बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको संघीय सरकारलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ।

त्यसैगरी बैठकले आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि आवश्यक सल्लाह–सुझाव दिन तीन सदस्यीय बजेट सुझाव समिति गठन गरेको छ। संसदीय दलका प्रमुख सचेतक विक्रम सिंह धामीको संयोजकत्वमा गठित उक्त समितिमा गीता कुमारी चौधरी र पदमबहादुर शाही सदस्य रहेका छन्।

इरानी गुप्तचर मारिए

एजेन्सी। इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले आफ्नो गुप्तचर प्रमुख मारिएको जनाएको छ। इरानी सञ्चारमाध्यममा प्रकाशित विज्ञप्तिअनुसार मजिद खदेमी सोमबार बिहान मारिएका हुन्।

घटनाका लागि आईआरजीसीले अमेरिका र इजरायललाई दोषी ठहर गरेको छ। यस विषयमा प्रतिक्रिया माग्दा इजरायली रक्षा बल (आईडीएफ)ले उक्त खबरबारे अनुसन्धान गर्ने बताएको छ। खदेमीले यसअघि मोहमद काजेमीलाई प्रतिस्थापन गरेका थिए। काजेमी २०२५ जुन १५ मा भएको इजरायली आक्रमणमा मारिएका थिए, जुन १२ दिने इरान–इजरायल द्वन्द्वको क्रममा भएको थियो।

खदेमीले यस वर्ष फेब्रुअरी र जनवरीमा भएका सरकारविरोधी आन्दोलनपछि डोनाल्ड ट्रम्पमाथि गरिएको कथित हत्या योजनालाई प्रोत्साहन गरेको आरोप लगाएका थिए। उनका अनुसार यस्तो रणनीतिले मृत्यु संख्या बढाएर विदेशी सैन्य हस्तक्षेपलाई औचित्य दिने प्रयास गरिएको थियो।

त्यसै क्रममा उनले इरानमा फैलिएको आन्दोलनमा इजरायलको साइबर तथा गुप्तचर इकाइ युनिट ८२०० सहित १० भन्दा बढी विदेशी गुप्तचर निकाय संलग्न रहेको दाबी गरेका थिए।

अमेरिकास्थित मानव अधिकार अभियन्ता न्युज एजेन्सीका अनुसार जनवरीमा भएको दमनका क्रममा इरानमा कम्तीमा ७ हजार जनाको ज्यान गएको उल्लेख छ।

रास्वपा सांसद खगेन्द्र सुनारद्वारा दलित समुदायसँग माफी माग्ने कदमको स्वागत(भिडियाे)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद खगेन्द्र सुनारले दलित समुदायसँग माफी माग्ने हिम्मत देखाएकोमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवाद व्यक्त गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले इतिहासमा पहिलोपटक सरकारले दलित समुदायसँग माफी मागेको घटनालाई ऐतिहासिक क्षण भनेका हुन् । उनले दलित नागरिकलाई ‘लास र दास’को रूपमा व्यवहार गर्ने कार्य बन्द हुनुपर्ने पनि जोड दिएका छन्।

सांसद सुनारले संसदमा दलित समुदायमाथि विगतमा भएका हिंसात्मक घटनाहरू स्मरण गराउँदै, रुकुम, बझाङ, कैलाली, रूपन्देही, खोटाङ, म्याग्दी, सुर्खेत लगायतका विभिन्न ठाउँमा दलितहरूमाथि भएको बलात्कार, हत्या र जातीय हिंसाका घटनाको उल्लेख गरेका छन्। 

‘यो सबै घटनाले देखाउँछ कि जातीय आधारमा दलित समुदायमाथि भएको अन्याय कहिल्यै बिर्सिन सकिँदैन’, उनले संसदलाई सम्बोधन गर्दै भने। 

सांसद सुनारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविनामिसानरले माइतीघर मण्डलमा ‘कहिले सम्म दलितहरूलाई हातमा नेल लगाएर बस्न दिइने हो?’ भनेर आन्दोलन सुरु गरेको स्मरण गर्दै, पार्टी र वर्तमान सरकारले क्षमायाचना गर्ने साहस देखाएकोमा प्रशंसा गरेका छन्।

उनी भन्छन्, ‘अहिलेको सरकारले दलित समुदायसँग क्षमा मागेर ऐतिहासिक कदम उठाएको छ’, उनले भने, ‘अब यसलाई नीतिगत र विधिगत रूपमा स्थापित गरेर वर्षौंदेखि अन्यायमा परेका समुदायले न्याय महसुस गर्न सकुन्।’

सांसद सुनारको यो भाषणले दलित समुदायप्रति सरकारको संवेदनशीलता र ऐतिहासिक क्षमायाचना प्रक्रिया प्रवद्र्धन गर्ने महत्त्व दर्शाएको छ।

चैत २३ सम्म : २३ स्थानमा बर्डफ्लू

काठमाडौं।  यस वर्षको चैतमा फैलिएको बर्डफ्लु दिनानुदिन फैलीरहेको छ। चैत २३ गतेसम्म आउँदा २३ स्थानमा बर्डफ्लू पुष्टि भएको  पशु सेवा विभागले जनाएको हो।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार चैत महिनामा विभिन्न २३ स्थानमा बर्डफ्लू पुष्टि भएको हो। यसअघि चालु वर्षमा चैतसम्म बर्डफ्लू देखिएको थिएन।

विभागका अनुसार पहिलो पटक चैत ६ गते मोरङको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकैसाथ दुई स्थानमा बर्डफ्लू भेटिएको थियो। त्यसपछि सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापामा दुई स्थान, चितवनमा एक स्थान र काठमाडौंमा एक स्थानमा संक्रमण पुष्टि भएको छ।

महानिर्देशक दाहालका अनुसार बर्डफ्लू देखिएका स्थानहरू नियन्त्रणमा लिइएको छ र हालसम्म थप फैलिएको देखिएको छैन। ती क्षेत्रमा करिब एक लाख चार हजार कुखुरा तथा हाँस नष्ट गरिएको छ।

काठमाडौंको त्रिभुवन विश्वविद्यालय परिसरमा कागमा पनि बर्डफ्लू देखिएको थियो। सुनसरी, झापा र मोरङमा संक्रमण फैलिएको कारण ती जिल्लामा पशुपक्षी ओसारपसारमा प्रतिबन्ध लगाइएको छ।

दाहालका अनुसार बर्डफ्लु देखिएका स्थानलाई ‘ बर्डफ्लू क्षेत्र’ घोषणा गरी आकस्मिक रोग अन्वेषण टोलीमार्फत संक्रमित पशुपक्षी नष्ट गरिएको हो। हाल गरिएको परीक्षणमा धेरै नमूनामा संक्रमण नदेखिएको उनले बताए।

सरकारले बर्डफ्लू देखिएपछि कुखुरा तथा हाँस नष्ट गर्ने र त्यसबापत किसानलाई ७५ प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ।

ठमेलबाट पक्राउ परेका दुई युगाण्डियन यौनकर्मीलाई देश निकाला,१८ अझै निगरानीमा

काठमाडौं। यौनव्यवसायमा  संलग्न युगाण्डाका दुई युवतीलाई देश निकाला गरिएको छ। प्रहरीले फागुन ११ गते काठमाडौं महानगरपालिका-२६ ठमेल, फायरचोकबाट नियन्त्रणमा लिएका २० युगाण्डियन युवतीमध्ये दुईजनालाई देश निकाला (डिपोट) गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकालाई अध्यागमन विभागमा बुझाउने क्रममा आइतबार दुई युवतीलाई देश निकाला गरिएको हो भने अन्यलाई अझै निगरानीमा राखिएको छ। डिपोर्ट हुनेमा हजाराह बाटामुलिसा कलाना र बिट्टी नानबुदु रहेका छन्।

यौन तथा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न गरेको अभियोगमा कलाना र नाबुदुसहित २० युवती पक्राउ परेका थिए । उनीहरूलाई पक्राउ गरेपछि काठमाडौंस्थित सम्बन्धित देशको दूतावाससँग समन्वय गरिएको थियो । त्यसक्रममा दूतावासले आफ्ना नागरिकको जिम्मेवारी लिएको, जिम्मेवारी लिन नचाहेकालाई अध्यागमनमा पेश गरिँदा डिपोर्ट भएका हुन् ।

२७ देखि ३८ वर्ष उमेरसम्मका ती युवतीमध्ये कतिपयले अनैतिक क्रियाकलाप नगर्ने प्रतिवद्धता जनाएका कारण उनीहरुलाई निगरानीमा राखिएको जनाइएको छ। उनीहरूका बारेमा राष्ट्रिय मानव अधिकार आयोगले पनि चासो राखेको एसपी भट्टराईले बताए ।

प्रहरीका अनुसार ठमेल, क्षेत्रपाटी, ज्याठा, दरबारमार्ग, स्वयम्भू र सामाखुसीलगायतका क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई कारबाही गरिएको हो। विशेषगरी ठमेल र दरबारमार्ग क्षेत्रका नाइट क्लबका ग्राहकलाई लक्षित गरी उनीहरू गतिविधिमा संलग्न हुने गरेको पाइएको प्रहरीले जनाएको छ।

ओली-लेखकलाई तुरुन्त रिहा गर्न एमाले सांसद विकको माग (भिडियो)

काठमाडौं। पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई  तुरुन्त रिहा गर्न एमाले सांसद विष्णुमाया विकले पार्टी माग गरेकी छिन् । सोमबार प्रतिनिधिमामा बोल्दै विकले ओली–लेखक भाग्ने र प्रमाण नष्ट हुने सम्भावना नरहेको भन्दै रिहाइको माग गरेकी हुन्।

उनले भनिन्, ‘हाम्रा अध्यक्ष केपी शर्मा ओली र रमेश लेकखलाई गिरफ्तार गरिएको छ । उहाँहरू भाग्ने र प्रमाण नष्ट गर्ने सम्भावना छैन । सरकारमा पनि हुनुहुन्न । ठुलो दुर्घटना भएको छ देशमा । उहाँहरूलाई बिनासर्त रिहा गरियोस्।’

उनले पार्टीमा आस्था राखेकै कारण अभद्र व्यबहार गर्न नहुने समेत उनले जिकिर गरिन्।

भिडियो :

सदन खुमलटार, बालकोट र बुढानिलकण्ठ मुक्त भएको छ : मनिष झा(भिडियाे)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद मनिष झाले सदन यसपटकबाट खुमलटार, बालकोट र बुढानीलकण्ठको प्रभावबाट मुक्त भएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सभामुखलाई लोकतन्त्र बलियो हुने गरी काम गर्न सुझाव दिँदै यस्तो धारणा व्यक्त गरेका हुन्।

सांसद झाले विगतमा सदन खुमलटार, बालुवाटार, बुढानीलकण्ठ र बालकोटको प्रभावमा सीमित हुँदा सिद्धान्तभन्दा संख्या हाबी भएको टिप्पणी गरे। अब सदनलाई सिद्धान्तमा आधारित बनाउने समय आएको उनको भनाइ थियो। ‘सदन कुनै चिया पसल होइन, जहाँ आएर जथाभावी बोलिन्छ,’ उनले भने।

उनका अनुसार सदन विद्यालय र विश्वविद्यालयजस्तो हुनुपर्नेछ, जहाँ सांसदहरू तयारीसहित उपस्थित भई जनताका प्रश्न उठाउनुपर्छ। उनले जनमतको अस्तित्व कमजोर भए संसदबाट जनता नै टाढा हुने चेतावनी दिए।

झाले वर्तमान संसदलाई नयाँ सुरुआतको रूपमा चित्रण गर्दै सबै दलको सहयोगप्रति आभार व्यक्त गरे। आन्दोलन र बलिदानबाट आएको परिवर्तनलाई संस्थागत गर्दै दक्षिण एसियाकै उत्कृष्ट संसद बनाउने लक्ष्य रहेको उनले बताए।

उनले विगतमा शक्तिकेन्द्रहरूको प्रभावका कारण सदन कमजोर बनेको उल्लेख गर्दै अब सबैलाई योगदान गर्न आग्रह गरे। साथै, जनताका मुद्दा उठाउन अध्ययन र तयारी आवश्यक रहेको बताउँदै जनमतको सम्मान गर्न सबैलाई आह्वान गरे।

सिँहदरबार कसले जलायो?

सम्माननीय अध्यक्ष महोदय,
यो राष्ट्रिय सभाको गरिमामय हलमा उपस्थित हुन पाउँदा आफूलाई अत्यन्त गौरवबोधको अनुभूति गर्दछु र राष्ट्रिय सभामा भएका असल र भिन्न प्रकारका अभ्यासबाट उत्साहित हुन पाउने यो मौका पनि हो र यसको लागि आभार पनि व्यक्त गर्न चाहन्छु र सँगसँगै, यो राष्ट्रिय सभामा निर्वाचित गर्ने मेरो दल, यो दलसँग सम्बद्ध गबन्धन दल र लुम्बिनी प्रदेशका प्रदेश सभाका माननीय सदस्यज्यूहरू, लुम्बिनी प्रदेशका स्थानीय तहका प्रमुख उपप्रमुख लगायतका सबै आदरणीय मतदाताज्यूहरूलाई म सम्झिन चाहन्छु।
हाम्रा केही असल अभ्यासहरू छन्। ती अभ्यासहरूको माध्यमबाट राष्ट्रिय सभामा मैले गर्ने भूमिका समग्र मुलुकको लागि, खासगरी लुम्बिनी प्रदेशको लागि र लुम्बिनी प्रदेशका हाम्रा मतदाताले हामीलाई निर्वाचनको बखत दिएर पठाएका दायित्व र जिम्मेवारीहरू छन्। ती जिम्मेवारीका सधैँ सम्झने प्रण गर्नेछु। यो राष्ट्रिय सभामा धेरै चिजहरू स्मृतिको रूपमा मात्रै लिन चाहन्छु। खासगरी नयाँ संकल्प हामी काम गर्ने सन्दर्भमा गर्ने नै छौँ। आज हामीले जुन लोकतान्त्रिक व्यवस्था कार्यान्वयन गरिरहेका छौँ । आजसम्मको यो परिवर्तन र यो परिवर्तनको दौरानमा शहादत प्राप्त गर्ने सम्पूर्ण शहिदहरू प्रति हार्दिक सम्मानपूर्वक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। शहिदहरूको सम्मानसँगै आजको समाज र यो समाजमा हामीले के प्राप्त गर्यौँ र आज जुन अवस्थाबाट यहाँ आइरहेका छौं। यसका प्रति थुप्रै अनुत्तरित प्रश्नहरू छन्। यो प्रश्न मलाई लाग्छ कि राष्ट्रिय सभामा छोडेर जानुपर्छ। यसको जवाफ, यसको छानबिन, यसको अभियोजन, यसको प्रतिवेदन, न्याय र निरुपण भन्ने कुरा इतिहासमा छोडेर गएका म भन्न सक्दिनँ, तर केही प्रश्नहरूचाहिँ सोध्नुपर्छ भन्ने लागेको छ मलाई।
त्यसैले, हुँदै गर्दाखेरि हामी खासगरी 0६२-६३ सालमा, 0४६ साल, सात साल, सबै शान्तिमा संलग्न भएका दलहरू, आज हामी यो सब ठिकठाक छ भनिरहेका छौं। यो सबै ठिकठाक थियो कि थिएन भन्ने कुराचाहिँ एउटा पुनरावलोकन आवश्यक छ। यो सब ठिकठाक थियो भन्दा ठिकठाक थिएन। तर सबै खराब थियो भन्दा यो खराब पनि थिएन। यो समाजलाई यहाँसम्म ल्याउनको लागि हाम्रा केही विभिन्न कालखण्डहरूमा असल अभ्यासहरू भए । ती अभ्यासबाट हामीले आजको परिष्कृत समाज पाएका थियौं। यसमा पनि हामीले धेरै यस्ता घनचक्करहरूमा उचाइ, ओरालोमा थुप्रै हन्डरहरू खाँदै आएका थियौं।
समाजको सहअस्तित्व स्वीकार गर्ने सन्दर्भमा हामीले धेरै अप्ठ्याराहरू भोग्दै आएका थियौं र आजको यो परिवर्तन यत्तिकै भएको होइन। यो परिवर्तनको पछाडि धेरै ठूलो संकल्प, धेरै ठूलो योगदान, धेरै ठूलो बलिदानकोआजको उपलब्धि छ, तर यो उपलब्धि हुँदै जाँदा, यि सबै कुरा समाजमा हामीले जस्तोको तस्तै किन भन्न सकेनौं? आज हाम्रा नवयुवाहरू यो संरचना, यो व्यवस्था र यी सबै कुरामा किन खुसी छैनन् भन्ने कुराका लागि चाहिँ मलाई आज के लाग्छ भने, ती बेठिकहरु थिए। ती बेठिकहरुलाई करेक्सन गर्ने हामीले कुरा दिएनौं। त्यसकारण, कुनै पनि लोकतान्त्रिक समाजभित्र शान्तिपूर्ण ढंगले कुनै पनि सत्ताको विरुद्ध नागरिकलाई विद्रोह गर्ने अधिकार सुरक्षित हुन्छ, तर भाद्र २३ र २४ गतेको विद्रोह शान्तिपूर्ण थियो अथवा त्यो हिंसात्मक र त्यो कस्तो विद्रोह थियो ? त्यसको जिम्मा कसले लिने हो ?
२३ गतेको घटनाका बारेमा केही प्रतिवेदनहरू आए। २४ गते खण्डहर भएका सिँहदरबारहरू, यी जलेका कुराहरू र यो राज्यको विरूद्धमा  जलाउँदा केही हुन्न भन्ने कुराको भाष्य र त्यसरी मनिटरिङ गरेर कसले पठायो ?  यसको उत्तर कसले खोज्ने हो? आज सिँहदरबारका जलाउन हुन्छ, जलाउँदा केही हुँदैन भन्ने भाष्य कसले खडा गरिदियो ? आज नवयुवालाई यो ढंगले कसले प्रयोग गर्यो? यसको जवाफ आज होइन, भोलि र कुनै दिन यही सम्मानित राष्ट्रिय सभाले खोज्नेछ। हामीभन्दा पछिका माननीय सदस्यहरूले पनि खोल्नुहुनेछ भन्ने लाग्छ कि कार्पेटमुनि धुलो राखेर सब ठिकठाक छ भनेर जाने कुरा मेरो विचारमा ठिक छैन।
भदौ २३ को घटना शान्तिपूर्ण थियो भन्ने आधारमा आज सिँहदरबार जे खण्डहर बन्यो, म त एक हिसाबले भन्ने हो भने सिँहदरबारको खण्डहरको साक्षी होइन। कुनै बेला म यी सबै कुरा निर्माणको म नेतृत्वकर्ता पनि थिएँ। त्यसले गर्दा अरू सबै मान्छेभन्दा म अझ धेरै भावविव्ह्ल छु कि यो इतिहासमा के भएको थियो? यसको निष्पक्ष छानबिन कहिले हुन्छ? त्यसको जवाफदेहिता राज्यले कुन तहले कहिले लिन्छ भन्ने कुराको प्रश्न अहिले यहाँ मैले छोड्न चाहन्छु ।
र यसको वरिपरी आफ्नो पूरा कार्यकालमा यो प्रश्नको जवाफ खोज्ने प्रयास पनि गर्नेछु । धन्यवाद ।
राष्ट्रिय सभा बैठकमा एमाले सांसद झाँक्रीले गरेको सम्बोधन

राष्ट्रिय सभाको बैठक जारी (तस्वीरहरु)

काठमाडौं।  राष्ट्रियसभाको बैठक आजै अपराह्न १२ः१५ बजेदेखि सिंहदरबारमा बस्दैछ । बैठकमा ‘राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गरेका छन् ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको गत आर्थिक वर्ष २०८०–८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

 तस्वीरहरु : 

सरकारले १ सय ८५ मिलियन ऋण कसरी लियो : खुस्बु ओली (भिडियो)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले सरकारले लिएको करीब १८५ मिलियन अमेरिकी डलर ऋणबारे गम्भीर प्रश्न उठाएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त ऋण पारदर्शी प्रक्रिया र स्पष्ट आधारबिना लिइएको हो कि भन्ने आशंका व्यक्त गरिन्।

नेपाल सरकारको मन्त्रिपरिषद्ले एशियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर र दिगो तथा समावेशी वित्त परियोजनाका लागि ९५ मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकार गरेको सन्दर्भमा उनले संसदमा प्रश्न उठाएकी हुन्।

नेपाल सरकारको मन्त्रिपरिषद बैठकले एशियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टको लागि ९० मिलियन अमेरिकी डलर र दिगो र समावेशी वित्त परियोजनाको लागि ९५ मिलियन अमेरिकी डलर बराबरको ठूलो सहुलियत ऋण स्वीकार गरेको प्रसङ्ग छ,’ उनले भनिन्, ‘हामी सरकार समक्ष सोध्न चाहन्छौं, कुन संसदीय समिति, कुन नीतिगत बहस र कुन आवश्यकता प्राथमिकीकरण मूल्यांकनका आधारमा यो आकारको निर्णय लिइयो?’

उनले उक्त निर्णय कुन संसदीय समिति, कुन नीतिगत बहस र कुन आवश्यकता मूल्यांकनका आधारमा गरिएको हो भन्ने स्पष्ट पार्न सरकारसँग माग गरिन्। संसद अझै पूर्ण रूपमा संरचित नभएको अवस्थामा यस्तो ठूलो ऋण निर्णय पारदर्शी नहुन सक्ने उनको भनाइ थियो।

सरकारको भूमिकाप्रति राष्ट्रिय सभामा सांसदको आपत्ति

काठमाडौं। दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय सभाका सांसदहरूले उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

सोमबार बसेको बैठकमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले सरकारको उक्त कदमले मुलुकमा बेथिति निम्त्याउने दाबी गरे। उनले सरकारी कर्मचारीलाई हप्तामा तीन दिनसम्म निष्क्रिय राखेर सरकारले के गर्न खोजेको हो भन्दै प्रश्नसमेत उठाए।

उनले सरकारी कर्मचारीलाई हप्तामा तीन दिनसम्म बेरोजगार राखेर सरकारले के गर्न खोजेको भन्दै प्रश्न समेत गरे।

उनले भने, ‘ मध्येपूर्वको युद्धलाई निउँ बनाएर हाम्रो सरकारले सरकारी र शिक्षण संस्थालाई दुई दिन बन्द गराउनु राम्रो हैन।’

पश्चिम एसियाको युद्धलाई बहाना बनाएर शिक्षण संस्था र सरकारी कार्यालय बन्द गर्नु न्यायोचित नभएको उनको तर्क छ। विश्वकर्माले विशेषगरी विद्यार्थीहरूको पठनपाठनमा पर्ने असरबारे सरकारलाई सचेत गराए।

उनले भने,’ नेपालमा कुल विद्यार्थीमध्ये पैदल हिड्ने र आफ्नै गाडी छाडेर बिद्यालय जाने विद्यार्थीको संख्या कति छ सरकार ?  नेपाल पहाडले बनेको र गरिबीले द्घेरेको मुलुक भएकाले हामी नेपालीको अधिकांश छोराछोरी पैदल हिड्छन्। थोरैले मात्रै सार्वजनिक चढ्छन्।  विद्यालय चै बन्द गर्ने अनि सार्वजानिक यातायात चै बन्द नगर्ने ?’

नेपाल पहाडी र गरिबीले घेरिएको मुलुक भएकाले अधिकांश विद्यार्थी पैदल हिँडेर विद्यालय जाने गरेको तथ्य प्रस्तुत गर्दै उनले सार्वजनिक यातायात सुचारु रहने तर विद्यालय बन्द गर्ने सरकारको दोहोरो चरित्रको आलोचना गरे। उनले कर्मचारी र विद्यार्थीलाई लामो समय फुर्सदिलो बनाउँदा शैक्षिक र प्रशासनिक क्षेत्रमा गम्भीर असर पर्ने भन्दै यो निर्णय तत्काल खारेज गर्न सरकारसँग जोडदार माग गरे।

यसैगरी बैठकमा सांसद सावित्री मल्लले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराइन्। अन्तर्राष्ट्रिय बजारको बहाना देखाएर आयल निगमले गरेको मूल्यवृद्धिका कारण यातायात तथा ढुवानी भाडा बढेको र त्यसको असर दैनिक उपभोग्य वस्तुमा परेको उनले बताइन्।

बजारमा देखिएको महँगी र उपभोग्य वस्तुको अभावले आम नागरिकको जीवन कष्टकर बनेको उल्लेख गर्दै उनले मूल्यवृद्धि तत्काल समायोजन गर्न सरकारलाई दबाब दिइन्। बजारमा देखिएको कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गरी सर्वसाधारणलाई राहत दिन सरकारले विशेष कदम चाल्नुपर्नेमा उनले जोड दिइन्।

अन्तर्राष्ट्रिय कारण देखाएर पन्छिनु भन्दा आन्तरिक व्यवस्थापनमार्फत जनतालाई महँगीको मारबाट जोगाउनु सरकारको मुख्य दायित्व हुने उनको भनाइ छ।

दुई दिनभित्र कर्मचारीको विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा कार्यरत कर्मचारीहरूको अभिलेख अद्यावधिक गर्ने काम थालेको छ।

कर्मचारी प्रशासन शाखामार्फत मन्त्रालयले सबै विभाग, केन्द्र र अस्पताललाई कर्मचारीहरूको विस्तृत विवरण दुई दिनभित्र बुझाउन निर्देशन दिएको हो ।

अभिलेखलाई व्यवस्थित र अद्यावधिक राख्ने उद्देश्यले उक्त विवरण संकलन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

बालेन सरकारमा स्वेच्छाचारिता, अराजकता र राज्यआतंकको चरम रूप !

काठमाडौं । भ्रष्टाचार, बिचौलिया र गुण्डागर्दीविरुद्ध पक्राउ अभियान चलाइरहेको बालेन नेतृत्वको सरकार विवादित बन्दै गएको छ ।

सरकार बनेको दुई साता नबित्दै स्वेच्छाचारिता, अराजकता र राज्यआतंकको चरम रूप प्रदर्शन गरेको भन्दै न्यायिकवृत्तबाट गम्भीर चिन्ता प्रकट भएको छ ।

केही आरोपीलाई बिना जाहेरी पक्राउ गरेको र हिरासतमा राखेको घटना एकपछि अर्को भइरहेपछि सरकारमाथि कानुनी र नैतिक प्रश्न उठेको हो ।

आलोचकहरूले पक्राउ पर्नेको संख्या बढी देखाउन सरकार उद्धत भएको र यसले विधिको शासनको धज्जी उडाएको आरोप लगाएका छन् ।

हालै हाँस्यकलाकार सागर लम्साल ‘बले’को पक्राउ बिना जाहेरी भएपछि सरकार विवादमा तानिएको हो । उनलाई अमेरिकामा बस्दै आएकी एक युवतीले आफूलाई अमेरिकामै बलेले बलात्कार गरेको सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन् ।

उनले इमेल वा हुलाकलगायत अन्य कुनै माध्यमबाट प्रहरी वा अदालतमा जाहेरी नदिँदा पनि बले पक्राउ परे । प्रहरी स्वयंलाई अदालतमा म्याद थप अनुमति लिन जाँदा के कसुरमा अनुसन्धान गर्न खोजेको भन्नेमा नैतिक संकट पर्‍यो ।

अनि प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न भनेर म्याद थप अनुमति लियो । अहिले पनि बले प्रहरी हिरासतमै छन् । बले पक्राउ प्रक्रियासम्मत नभएको भन्दै सरकारको तीब्र आलोचना भइरहेको छ ।

लुम्बिनी प्रदेशकी एमाले पूर्वसांसद रेखा शर्माको पक्राउमा पनि प्रहरीलाई त्यस्तै आपत पर्‍यो । महान्यायाधिवक्ताले यसअघि नै शर्माविरुद्धको बालिकालाई दुव्र्यबहार गरेको सम्बन्धी मुद्दा नचल्ने निर्णय गरेकोमा शर्मा पक्राउ परेकी थिइन् ।

भनिन्छ, प्रधानमन्त्री बालेनको चाहनाअनुसार गृहमन्त्री सुधन गुरुङको ठाडो निर्देशनमा प्रहरीले शर्मालाई पक्राउ गरेको थियो । तर, अदालतमा म्याद थप अनुमतिका लागि लाँदा प्रहरीलाई नै समस्या भयो ।

सर्वोच्च अदालतले आइतबार उनलाई हिरासतमुक्त गर्न आदेश दियो । रेखाको पक्राउ पनि विधिशास्त्रको मूल मर्मअनुसार नभएको भन्दै आलोचना भएको थियो ।

कानुनविद्हरूका अनुसार विधिशास्त्रको आधारभूत सिद्धान्त भनेको ‘पहिले प्रमाण, त्यसपछि पक्राउ’ हो । पहिले पक्राउ त्यसपछि प्रमाण जुटाउने भन्ने हुँदैन । तर, हालको अभ्यासमा त्यसको उल्टो भइरहेको भन्दै न्यायिकवृत्तमा चिन्ता बढ्दो छ ।

पर्याप्त प्रमाण संकलन नगरी व्यक्तिलाई हिरासतमा राख्ने कार्यले राज्य विधिको शासन कार्यान्वयनभन्दा पनि आतंक सिर्जना गर्न लागेको र त्यसले सरकारप्रतिको विश्वास कमजोर बनाउन सक्ने उनीहरूको तर्क छ ।

संविधानविद् डा. विपिन अधिकारीले यस्तो प्रवृत्तिलाई स्वेच्छाचारिताको चरम रूप भनेका छन् । उनका अनुसार परिणाम देखाउने हतारमा सरकारले विधिको शासनको उल्लङ्घन गर्न खोजेको छ र जसको दीर्घकालीन असर गम्भीर हुन सक्छ ।

बालेन सरकारमा गृहमन्त्री सुधन गुरुङ छन् । जेन–जी विद्रोहको ‘हाइज्याकर’ भनिने उनले विद्रोहलगत्तै भन्थे, ‘कसैलाई छाड्दिनँ । १ छोड्दिनँ, २ छोड्दिनँ, ३ छोड्दिनँ ।’

उनै गुरुङ गृहमन्त्री भएपछि कानुनी प्रक्रियाभन्दा बाहिर गएर आरोपीहरूलाई पक्राउ गराइरहेका छन् । पक्राउ पुर्जीमा समेत प्रश्न उठिरहेको छ ।

१४ चैतमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनकै सरकारमा गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकलाई ‘जरुरी पक्राउ’ पुर्जी जारी गराएर पक्राउ गरिएको थियो । जबकि, जेन–जी विद्रोह भएको सात महिना भयो । फरार हुने र प्रमाण नष्ट गर्ने सम्भावना थिएन ।

ओलीको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण मुद्दामा बहस गर्दै आएका वरिष्ठ अधिवक्ता भविश्वर गुरुङ भन्छन्, ‘साधरण पक्राउ पुर्जी जारी गरेर अनुसन्धानका लागि नियन्त्रणमा लिन सक्ने अवस्था थियो । जरुरी पक्राउ पुर्जी त अहिल्यै पक्राउ नगरिए फरार हुने र नियन्त्रणमा नलिए कसुरसँग सम्बन्धित सबै प्रमाण नष्ट गर्ने जोखिम हुँदा मात्रै हो ।’

सरकार भने परिणाम देखाउन नाममा विधिसम्मत प्रक्रियालाई लत्याएर अगाडि बढिरहेको छ ।

यसले लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासन धरापमा पर्ने भन्दै सरकारको विरोध हुन थालेको छ ।

सांसद आलेमगरको गर्जन : विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय तुरुन्त फिर्ता होस्’ (भिडियो)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय सभाका सांसद सुरेशकुमार आलेमगरले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। आलेमगरले राष्ट्रिय सभा बैठकमा बोल्दै सो निर्णय पञ्चायतकालीन निरंकुश तानाशाही व्यवस्थाको झल्को दिएको जिकिर  गरेका हुन्।

उनले भने, ‘राजनीतिक बहुदकिया व्यवस्थामा विचारका आधारमा विभिन्न दलहरु गठन हुन्छन्। ति दखारू संग विभिन्न संगठनहरुपनि आवद्व हुन  सक्छन्। यो बिल्कुल लोकतान्त्रीक कुरा हो। यो लोकतान्त्रीक अभ्यास यो।  यो कुनै गैरकानुनी,असंवैधानिक,आपत्तिजनक कुरा हैन।’

उनले तत्काल सो निर्णय खारेज गर्न सरकारलाई सचेत गराए। सांसद आलेमगरले कुनैपनि राजनीतिक दलमा संगठनहरु आवद्ध हुने कुरा संविधान र कानूनसम्मत हुने भएकाले सरकारले त्यसलाई प्रतिबन्ध लगाउने काम गर्न नमिल्ने तर्क समेत गरे।

उनले भने, ‘यो सरकारले विद्यार्थी संगठनमाथी लगाएको प्रतिबन्ध तत्काल फिर्ता गरिनुपर्छ।  सरकारको यो निर्णयले कहिँ तानाशाही निरङ्कुश पंचायती व्यवस्था जसलाई नेपाली जनताले ३६ वर्ष अगाडी आर्यघाटमा सेलाएका थिए। त्यो व्यवस्थाको पुनरागमन भएको त हैन ? यो लिकतान्त्रीक व्यवस्था हो भन्ने मलाई लाग्छ। तसर्थ, विद्यार्थी संगठनमाथी प्रतिवन्ध लगाउने निर्णय सरकारले  तुरुन्त खारेज गरोस्।’

सांसद आलेमगरले बहुदलीय व्यवस्थामा दलहरु छान्ने अधिकार जोकोहीलाई पनि हुन्छ भन्ने कुरामा सरकारले हेक्का राख्नुपर्नेमा समेत चेतावनी दिए।

२ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ तोकेको छ । 

अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

उपन्यास ‘इथा’ सार्वजनिक

काठमाडौं।  लेखक तथा स्तम्भकार केशव दाहालको नयाँ उपन्यास ‘इथा’ सार्वजनिक गरिएको छ। भक्तपुरको राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा शनिबार आयोजित कार्यक्रममा कृतिको औपचारिक लोकार्पण गरिएको हो।

कार्यक्रममा शिल्पी थिएटर ले ‘इथा’मा आधारित गीति नाटक प्रस्तुत गर्दै उपन्यासको मूल भावलाई जीवन्त बनाएको थियो। नाटकमार्फत वसुधा, लखा, धान्यवती, नयनतारा र सौरन्द्रीजस्ता पात्रहरूको कथा र संघर्षलाई प्रभावकारी रूपमा देखाइएको थियो।

समालोचक भूषिता वशिष्ठ ले ‘इथा’लाई ऐतिहासिक आख्यानभन्दा माथि उठेर पौरस्त्य दर्शनसँग जोडिएको कृतिका रूपमा व्याख्या गरिन्। उनका अनुसार उपन्यासले इतिहास, संघर्ष र महिला स्वाभिमानलाई सशक्त ढंगले प्रस्तुत गरेको छ। विशेषगरी महिला पात्रहरू ‘शक्ति’को प्रतीकका रूपमा उभिएको उनले उल्लेख गरिन्।

उनले भनिन्, ‘इथाको कथा प्रवाह, पात्रहरूको आत्मसंघर्ष र उनीहरूले लिएको निर्णायक अडानले मलाई भित्रैदेखि छोएको छ। यो पुस्तक म तपाईंहरु सबैलाई एक पटक पढ्नैपर्ने पुस्तकका रूपमा सिफारिस गर्छु। यति सुन्दर एवम् सुललित किसिमले लेखिएको उपन्यास हामीले कमै मात्रामा पढ्न पाउँछौं।’

उनले भारतीय कृति वैशालीकी नगरवधू सँग तुलना गर्दै ‘इथा’ले पनि नेपाली साहित्यमा नयाँ मापदण्ड स्थापित गर्न सक्ने सम्भावना रहेको बताइन्।

उपन्यासले करिब २४०० वर्षअघिको ऐतिहासिक परिवेशलाई आधार बनाएर वैशालीबाट लिच्छविहरू मञ्जुपट्टनसम्म आइपुगेको कथा प्रस्तुत गर्छ। सौमरहरूमाथि विजय हासिल गरी नयाँ राज्य स्थापना गर्ने घटनाक्रमलाई कलात्मक ढंगले चित्रण गरिएको छ। कथा तीन महिला पात्रको वरिपरि घुम्छ, जसले साहस, विद्रोह र आत्मसम्मानको प्रतिनिधित्व गर्छन्। युद्ध, प्रेम र पीडाबीच उनीहरूको संघर्ष अन्ततः निर्णायक मोडमा पुगेर राज्य परिवर्तनको आधार बन्छ।

‘इथा’ फाइनप्रिन्ट प्रकाशन द्वारा प्रकाशित कृति हो।

यसअघि दाहालका ‘नेपाली राजनीतिको पुनर्गठन’ (२०७३), ‘मोक्षभूमि’ (२०७७) र ‘माधवी ओ माधवी’ (२०७९) प्रकाशित भइसकेका छन्। ‘मोक्षभूमि’ले पद्मश्री साहित्य पुरस्कारसमेत प्राप्त गरेको थियो।

मुस्ताङमा हिमचितुवाको बिगबिगी

मुस्ताङ। मुस्ताङमा हिमचितुवाको आक्रमणले ठूलो क्षति भएको छ। लोमान्थाङ गाउँपालिका-४ चुमजुङमा २१ वटा भेडाच्यांग्रा मरेका छन् भने सात वटा घाइते भएका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार, न्याम्डोका स्थानीय पशुपालक घ्याचो गुरुङको खोरमा पसेर हिमचितुवाले आक्रमण गरेको हो। खोरमा रहेका ३१५ भेडाच्यांग्रामध्ये १० च्यांग्रा र ११ भेडा मारिएका हुन्। ग्याबिन तारले घेरिएको सुरक्षित खोरमै आक्रमण भएको जनाइएको छ।

घटनाको जानकारी पाएपछि एक्याप, जिल्ला प्रहरी कार्यालय र पशु प्राविधिकसहितको टोली आइतबार बिहान घटनास्थल पुगेर निरीक्षण गरेको थियो। प्रारम्भिक मूल्यांकनअनुसार करिब ४ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

यसअघि पनि मुस्ताङका विभिन्न क्षेत्रमा यस्ता घटना भइरहेका छन्। फागुन ११ गते किम्लिङमा हिमचितुवाको आक्रमणबाट नौ च्यांग्रा मरेका र नौ घाइते भएका थिए। त्यस्तै, मार्फा क्षेत्रमा दुईपटकसम्म भएको आक्रमणमा तीन दर्जनभन्दा बढी च्यांग्रा मारिएका थिए।

पछिल्ला वर्षहरूमा हिमचितुवा बस्ती र मुख्य सडक आसपास देखिन थालेपछि स्थानीयवासीमा त्रास बढ्दै गएको छ।

फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्रीको दाबी

काठमाडौँ ।  फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरुङले आफू ठगिएको दाबी गरेका छन्। गृहमन्त्री गुरुङको सचिवालयले स्पष्टिकरण दिँदै उनी आफैँ ठगिएको दावी गरेको छ ।

आइतबार फेवातालको मुलघरमा नै गृहमन्त्री गुरुङको जग्गा रहेको प्रकरण बाहिरिएको थियो। उक्त प्रकरण बाहिरिएपछि गुरुङले सुरुमा आफूले जग्गा भाडामा लिएको बताएका थिए। 

 त्यसको केही समय नबित्दै गृहमन्त्रीले आफू जग्गावालबाट ठगिएको दाबी गर्दै कानुनी उपचार खोज्ने बताएका छन्। 

गृहमन्त्री गुरुङले सर्वोच्च अदालतको आदेशबमोजिम फेवातालको जग्गा मिचेर बनाइएको संरचना हटाउन पोखरा महानगरसँग मिलेर अभियान चलाइरहेका बेला उनले लिजमा लिएको जग्गासमेत अतिक्रमणभित्रकै रहेको पाइएको सचिवालयको प्रष्टिकरणमा छ ।

जग्गा लिजमा लिँदा जग्गा धनीले अतिक्रमित जग्गा भन्ने तथ्य लुकाई झुक्याइ लिजमा दिएर ठगेको भन्दै मन्त्री गुरुङसहित तीन जना साझेदार कानूनी उपचारमा जाने भएका छन् । जग्गाधनीले भने अहिलेसम्म सुधनले भाडा नतिरेको भन्दै सार्वजनिकरुपमै भाडा तिर्न आग्रह गरेका छन् ।

सचिवालयका अनुसार पोखराको फेवाताल किनारमा साहसिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ करिब ८–१० वर्ष अगाडि मन्त्री गुरुङसहित तीन जना युवा उद्यमी मिलेर ‘एड्भेन्चर स्पोर्ट्स् नेपाल’ सञ्चालन गर्ने योजना अघि बढाएका थिए ।

सदनको ‘रेफ्री’ डीपी अर्याल: खेल निष्पक्ष बनाउन कत्तिको सक्षम ?

काठमाडौं । प्रतिनिधिसभा कानुन बनाउने संस्था मात्र नभई राजनीतिक बहस र जनमतको प्रतिनिधित्व गर्ने केन्द्रीय मञ्च हो ।

यही मञ्चको सञ्चालन, मर्यादा र प्रभावकारितासँग प्रत्यक्ष जोडिएको पद हो- सभामुख । सभामुखको भूमिका औपचारिक देखिए पनि व्यवहारमा अत्यन्त शक्तिशाली, संवेदनशील र निर्णायक हुन्छ ।

संसदको बैठक सञ्चालन गर्ने, कार्यसूची निर्धारणमा समन्वय गर्ने, सांसदहरूलाई बोल्न समय दिने, नियमावलीको व्याख्या गर्ने र संसदको मर्यादा कायम राख्ने प्रमुख जिम्मेवारी सभामुखकै हुन्छ । त्यही भएर सभामुखलाई संसद्को ‘रेफ्री’ पनि भन्ने गरिन्छ ।

सभामुखबाट तटस्थ, र सन्तुलित भूमिकाको अपेक्षा गरिन्छ । चतुर, समन्वयकारी र संकटको बेला सही निर्णय क्षमता भएको सभामुखले सदनको ठीक ढंगले नेतृत्व गर्न सक्छन् । नभए सदन नाराबाजी र विरोधको थलो बन्न सक्छ ।

अब नवनिर्वाचित सभामुख डीपी अर्यालको भूमिका सदनको नेताका रूपमा कस्तो रहन्छ ? सोमबार उनको अध्यक्षतामा बस्ने प्रतिनिधिसभा बैठकले झल्काउने छ ।

विगतमा केही सभामुख पूर्ववर्ती दलप्रति बफादार बन्ने प्रयास गर्दा विवादित भएका थिए । सदनमा सभामुखको राजीनामा मात्रै होइन, महाभियोग लगाउने बहस पनि चलेको थियो । सदनमा वेल घेराउ, नाराबाजी, विरोध प्रदर्शनजस्ता दृश्य देखिन्थ्यो ।

तर, केही सभामुखले निष्पक्षता, तटस्थता र समन्वयकारी भूमिका निर्वाह गर्दा सदन ‘स्मुथली’ चल्थ्यो । खासगरी एमालेबाट सभामुख भएका सुवासचन्द्र नेम्बाङ यी भूमिकामा अब्बल थिए । दिवङ्गत भइसकेका उनी तेहरिने एक्ला सभामुख हुन् । उनलाई सदनका काविल नेता भनिन्थ्यो ।

नेम्बाङको निधनपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘सदनको नेतृत्व नेम्बाङले नगरेको भए सायद संविधानसभाबाट संविधान जारी हुन्थेन ।’

संसदीय राजनीतिको अभ्यास भएको ६७ वर्ष भयो । यस अवधिमा रास्वपाका डीपी अर्यालसँग १० जना सभामुख भइसके । नियन्त्रण र सन्तुलनको सिद्धान्तअनुसार कार्यपालिका प्रमुख अर्थात् प्रधानमन्त्रीलाई स्वेच्छचारी र अधिनायकवादतर्फ उन्मुख हुनबाट नियन्त्रण गर्ने भनेकै संसद् हो ।

त्यसका नेता सभामुख हुन् । कार्यपालिका प्रमुख प्रधानमन्त्रीको स्पष्ट छायाँ नीति निर्माण पर्नबाट जोगाउने पनि सभामुखले नै हो ।

पहिलो सभामुख कृष्णप्रसाद भट्टराईले २०१५ सालको अन्तिमतिर भएको निर्वाचनपछि गठित प्रतिनिधिसभामा पूर्ववर्ती दल कांग्रेसको प्रभावबाट टाढा रहेर निष्पक्ष र तटस्थ रुपमा सदन चलाएको चर्चा आजपर्यन्त हुने गरेको छ । उनले नै संक्रमणकालीन समयमा सभामुख बनेर संसदलाई संस्थागत गर्ने आधार तयार पारेको बताइन्छ ।

राजनीतिक रूपमा संवेदनशील अवस्थामा उनले संसदलाई सन्तुलित ढंगले सञ्चालन गर्दै नयाँ व्यवस्थामा विश्वास जगाउने काम गरेको चर्चा हुने गरेको छ ।

उनीपछि २०४८ सालमा सभामुख भएका कानुनी पृष्ठभूमिका सभामुख दमननाथ ढुंगानाले संसदीय प्रक्रियामा विधिसम्मत अभ्यासलाई प्राथमिकता दिए । उनले नियमावली, प्रक्रियागत शुद्धता र बहसको गुणस्तरमा विशेष ध्यान दिएका थिए ।

उनको कार्यकालमा संसद बहस र नीति निर्माणको प्रभावकारी मञ्चका रूपमा स्थापित भएको कांग्रेस नेता तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी बताउँछन् ।

उनीपछि २०५१ सालमा हालका राष्ट्रपति रामचन्द्र पौडेल सभामुख बनेका थिए । त्यसबेला देश राजनीतिक द्वन्द्वतर्फ उन्मुख थियो । माओवादी विद्रोह चर्किँदै गइरहेको बेला संसद सञ्चालन चुनौतीपूर्ण थियो ।

उनले दलहरूबीच संवाद कायम राख्ने प्रयास गर्दै संसदलाई जीवित राख्ने भूमिका खेले । यद्यपि, राजनीतिक अस्थिरताका कारण संसदको प्रभावकारिता सीमित भएको आलोचना पनि सुनिएको थियो ।

२०५६ सालमा सभामुख भएका तारानाथ रानाभाटको कार्यकालमा देश झनै द्वन्द्वको भूमरीमा थियो । त्यसबेला संसदीय गतिविधिहरूलाई नियमित सञ्चालन गर्न असहज मात्रै होइन, संसद् पनि अस्थिरताको केन्द्र बन्यो ।

अन्ततः कार्यकाल पूरा नभई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्न राजा ज्ञानेन्द्रलाई सिफारिस गरे । ज्ञानेन्द्रले सिफारिसअनुसार भंग गरिदिए । शासनसत्ता हातमा लिए । देश झनै संकटको चक्रब्यूहमा फस्यो ।

तर, दोस्रो जनआन्दोलनपछि प्रतिनिधिसभा पुनःस्थापित भयो र एमालेका सुवास नेम्बाङ सभामुख बने । नेपालको राजनीतिक इतिहासमा सबैभन्दा जटिल चरण यही काल मानिन्छ । यस्तो बेला नेम्बाङले सभामुखको रूपमा असाधारण नेतृत्व देखाए ।

पछि २०६४ र २०७० मा संविधान निर्माण प्रक्रियामा देखिएका गम्भीर मतभेदहरूका बीच उनले सहमति, संवाद र लचकताका माध्यमबाट प्रक्रिया अघि बढाए । अन्ततः ३ असोज २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भयो । संविधान जारी हुनुमा अहिले पनि गणतन्त्रपक्षधर नेताहरू उनको योगदान विशिष्ट रहेको बताउँछन् ।

संविधान जारी भएपछि रुपान्तरित व्यवस्थापिका संसदमा सभामुख भइन्– माओवादीकी ओनसरी घर्ती मगर । उनी देशको पहिलो महिला सभामुख हुन् ।

उनले संसदलाई समावेशी र प्रतिनिधिमूलक बनाउने प्रयास गरिन् । उनको कार्यकालमा संसदीय अभ्यासलाई व्यवस्थित गर्ने प्रयास भए पनि राजनीतिक खिचातानी भने कायम नै रह्यो ।

उनीपछि २०७४ मा कृष्णबहादुर महरा सभामुख बनेपछि सुरुवातमा संसद् सञ्चालन सामान्य देखिए पनि पछि उनी व्यक्तिगत आचरणसम्बन्धी विवादमा मुछिए ।

उनीमाथि संसद् सचिवालयकी एक जना महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लाग्यो । भनिन्छ, आरोप लाग्नुअघि त्यसबेला एमाले र माओवादी एकतापछि बनेको नेकपामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उनी कारिन्दाजस्तै भएको आरोप ओलीले लगाएका थिए ।

तर, पछि यौन दुव्र्यबहारजस्तो गम्भीर आरोपपछि उनी सभामुखबाट पदमुक्त भए । यस घटनाले सभामुखजस्तो उच्च पदको नैतिकता र मर्यादामाथि गम्भीर प्रश्न उठायो ।

महरापछि माओवादीकै नेता अग्निप्रसाद सापकोटा २०७६ मा सभामुख भए । उनको नियुक्ति नै विवादित रह्यो । काभ्रेका अर्जुन लामा हत्याकाण्डसँग जोडिएका कारण उनको नाममा आलोचना भयो ।

यद्यपि,संसद सञ्चालनलाई निरन्तरता दिन र विधेयकहरू अघि बढाउन भूमिका खेले । उनको कार्यकालमा संसद अवरुद्ध हुने, दलहरूबीच विवाद चर्किनेजस्ता समस्या दोहोरिरहे । कारण, उनले तटस्त भूमिका निर्वाह गर्न नसकेको आरोप लाग्यो ।

२०७९ मा एमालेका देवराज घिमिरे सभामुख बने । त्यसबेला संसद् नाराबाजी र विरोधको केन्द्र बन्यो । बेल घेराउ भयो । यद्यपि उनले संसद सञ्चालनमा प्रक्रियागत सुधार र नियमित बैठक सञ्चालनमा ध्यान दिएका थिए ।

हालका सभामुख डोलप्रसाद अर्याल (डीपी)ले संसदलाई पारदर्शी, प्रविधिमैत्री र जनउत्तरदायी बनाउने अपेक्षा गरिएको छ । उनले आइतबार पदभार ग्रहणपछि भने, ‘सदनलाई निष्पक्ष र तटस्थ रहेर सञ्चालन गर्नेछु ।’ सदन प्रतिपक्षीको भन्ने बुझेको भन्दै प्रतिपक्षीहरूको सम्मान गर्ने पनि बताए ।

तर, यसपटकको संसदमा रास्वपाको झण्डै दुई तिहाइ नजिकको बहुमत छ । बहुमत हुँदा सत्तापक्षले विपक्षीहरूलाई कानुन निर्माण प्रक्रियामा पेलेर लाने र सभामुखले साथ दिने गरेको विगतको अनुभव पनि छ । यसपटक सदनमा अर्यालको भूमिका अब परीक्षणमा गएको छ ।

घरमा ठोकियो बोलेरो जीप, दुई जनाको मृत्यु

काठमाडौं । गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ मिसुकामा बोलेरो पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गुल्मीदरबार–४ की ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । घाइतेहरूलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा पुर्‍याएर उपचार भइरहेको छ ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । गम्भीर हुनेमा जमुना ढेंगा, सुमित्रा ढेंगा, पार्वती ढेंगा, पम्फा ढेंगा, कुमारी पुन ढेंगा, मिना सनामी छ । अन्य पाँचजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

बलेलाई ५ दिन हिरासतमा राख्न आदेश

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन्।

अमेरिकामा बस्ने एक युवतीले सामाजिक सञ्जालमार्फत उनीमाथि जबरजस्ती करणीको आरोप लगाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। सोही आरोपको आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यद्यपि, हालसम्म उनीविरुद्ध औपचारिक रूपमा किटानी जाहेरी भने दर्ता भएको छैन। त्यसैले प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा हिरासत अनुमति मागेको थियो।

ओली लेखकको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई हेर्दाहेर्दैमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ जारी रहँदै ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

आइतबार सर्वोच्च अदालतमा न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको थियो।

सुनुवाइ आजै नसकिएकाले सोमबारका लागि ‘हेर्दाहेर्दै’ मा राखिएको सर्वोच्च अदालतले जनाएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिनका लागि गठन गरिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अनुसन्धान गर्न सिफारिस गरिएको थियो।

ओली र लेखकविरुद्द तेस्रोपटक म्याद थप्ने तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको हिरासत म्याद थपका लागि तेस्रोपटक अदालतमा सुनुवाइ भइरहेको छ।

लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ भने टिचिङ अस्पतालमा उपचाररत ओलीलाई भर्चुअल माध्यमबाट पेश गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

गत शनिबार बिहान पक्राउ परेका दुवैजनामाथि अनुसन्धानका लागि यसअघि ५ दिन र २ दिन गरी कुल ७ दिनको म्याद थप भइसकेको छ।

दीपक खड्कालाई सात दिन हिरासतमा राख्न आदेश

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्कामाथि अनुसन्धान गर्न थप ७ दिनको म्याद थप गरिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको खड्कालाई चैत १५ गते पक्राउ गरिएको थियो। उनलाई आज दोस्रोपटक म्याद थप गरिएको हो। यसअघि काठमाडौं जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनको घरबाट बरामद रकमको विषयमा अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले बताएका थिए।

शंकर ग्रुपका संचालक सुलभलाई ५ दिन हिरासतमा राख्न आदेश

काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप गरिएको छ । 

 जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ५ दिन म्याद थप गरेको हो ।

उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ परेका थिए ।

शुक्लाफाँटामा सकियो बाघ गन्ने काम

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ ।

राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा बाघ गणनाको काम सम्पन्न भएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

गत फागुन अन्तिम सातादेखि ‘क्यामेरा ट्र्यापिङ’ विधिबाट सुरु गरिएको राष्ट्रिय बाघ गणनाको फिल्डको काम सकिएर क्यामेरा सङ्कलन भइरहेको हो । ‘शुक्लाफाँटा र डिभिजन वनअन्तर्गत राखिएका क्यामेराहरु सङ्कलन भइसकेका छन्,’ उनले भने, ‘सङ्कलन भएका क्यामेराका तस्बिरहरुको विश्लेषण गरेर बाघको सङ्ख्या पत्ता लगाइन्छ ।’

यहाँ प्रत्येक ४ वर्षमा बाघ गणना हुँदै आएको छ । बाघ गणनाका लागि ७७ जनाको प्राविधिक टोलीसहित ५२० स्वचालित क्यामेरा जडान गरिएका थिए ।   सन् २०२२ को राष्ट्रिय गणनाअनुसार निकुञ्जमा ३६ वटा बाघ थिए ।

निकुञ्ज कार्यालयले हरेक वर्ष बाघको आन्तरिक सर्वेक्षण गर्ने गर्दछ । निकुञ्जको आन्तरिक सर्वेक्षणअनुसार यहाँ ४३ वटा बाघ छन् । यस पटकको राष्ट्रिय गणनामा पनि सोही सङ्ख्यामा बाघको सङ्ख्या हुन सक्ने अनुमान संरक्षण अधिकृतहरुको छ ।

‘निकुञ्जको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ छन्, एकै वर्षमा धेरै सङ्ख्या नबढेका हुनसक्छन्,’ संरक्षण अधिकृत वाग्लेले भने“यसपटकको राष्ट्रिय गणनामा पनि त्यही सङ्ख्या हुनसक्छ ।

छुटे शंकर अग्रवाल

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन् । सम्पत्ति शुद्धीकरण विभागले उनलाई छाडेको हो ।

विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले अग्रवाललाई छाडिएको पुष्टि गरे ।

केही दिनअघि मात्रै सम्पत्ति सुद्धिकरणको अनुसन्धानको क्रममा अग्रवाल पक्राउ परेका थिए ।

शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ । यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो ।

बलेलाई म्याद थप गर्न सरकारी वकिलको कार्यालयमा पुर्याइयो(तस्बिरहरु)

काठमाडौं । सागर लम्साल क्षेत्रीलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याइएको छ। 

उनलाई अमेरिका बस्दै आएकी संगम विष्टले एक वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन्। 

तस्बिरहरु:

शेयर बजार नेप्सेको कारोबार अब हप्तामा ४ दिन मात्रै

काठमाडौं । अब सेयर बजार सातामा चार दिन मात्रै सञ्चालन हुने भएको छ।

सरकारले आइतबार पनि सरकारी कार्यालयमा विदा दिने निर्णय गरेपछि त्यसको असर सेयर बजारमा परेको हो।

यद्यपि, नेप्सेका एक उच्च अधिकारीका अनुसार आवश्यक परे शुक्रबार पनि बजार खोल्नेबारे निर्णय गर्न सकिने सम्भावना रहेको छ।

यसअघि २०७९ जेठ १ गतेदेखि सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा घोषणा गर्दा नेप्सेले शुक्रबार पनि कारोबार सञ्चालन गरेको थियो। त्यसबेला शनिबार र आइतबार बजार बन्द गरी सातामा पाँच दिन कारोबार हुने व्यवस्था मिलाइएको थियो। तर केही सातामै सरकारको निर्णय फिर्ता भएपछि पुनः आइतबार नै कारोबार हुने गरी व्यवस्था गरिएको थियो।

हाल भने शुक्रबार र शनिबार बजार बन्द हुँदै आएको छ। सरकारको नयाँ निर्णयसँगै तत्कालका लागि शुक्रबार, शनिबार र आइतबार बजार बन्द हुने स्थिति बनेको छ।

अब शुक्रबार बजार सञ्चालन गर्ने वा नगर्ने विषयमा नेप्से सञ्चालक समितिले अलग्गै निर्णय लिनुपर्नेछ।

एकैपटक ३० जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ललितपुर जिल्लाका नापी र यातायात व्यवस्था कार्यालयबाट ३२ जना बिचौलियालाई पक्राउ गरेको छ।

आइतबार ललितपुर महानगरपालिका-५ लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर, ललितपुर, प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले नापी कार्यालयबाट २१ जना र यातायात कार्यालयबाट ११ जना बिचौलिया पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले सेवाग्राहीलाई अनावश्यक हैरानी दिने र सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने कार्य गर्दै आएका थिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

महान्याधिवक्तामा नारायण कँडेल नियुक्त 

काठमाडौं । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् ।

सभामुख अर्यालले गरे पदबहाली

काठमाडौं । नवनियुक्त सभामुख डोलप्रसाद अर्याल (डिपी) ले पदबहाली गरेका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गरिसकेपछि उनले पदभार सम्हालेका हुन्। 

अर्याल आजै बसेको प्रतिनिधिसभा बैठकबाट निर्विरोध सभामुख निर्वाचित भएका थिए। 

आगामी शैक्षिक सत्र १५ वैशाखबाट सुरु गर्ने सरकारको निर्णय

काठमाडौं ।सरकारले आगामी शैक्षिक सत्र १५ वैशाखबाट सुरु गर्ने निर्णय गरेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेकाे मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय भएको जानकारी दिए ।

अब सार्वजनिक बिदा सातामा आइतबार र शनिबार, शैक्षिक संस्थाबाहेकमा कार्यालय समय ९–५ लागू

काठमाडौं । सरकारले सार्वजनिक बिदा अबदेखि सातामा दुई दिन दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार र शनिबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।

उनका अनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको छ ।

शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो ।

शंकर ग्रुपका बुबापछि छोरा पक्राउ, अर्का छोरा पनि पक्राउ पर्ने !

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवालपछि उनका छोरा सुलभ अग्रवाल पनि पक्राउ परेका छन् ।

उनी आज बिहान पक्राउ परेका हुन् । शंकरका अर्का छोरा शाहिल पनि प्रहरीको ‘नोटिस’मा छन् ।

व्यवसायी दीपक भट्ट पक्राउपछि शंकर ग्रुपका अध्यक्षदेखि सदस्यहरू अनुसन्धानका निम्ति तानिने क्रम जारी छ ।

पदीय गरिमा र मर्यादा भुल्दै महावीर पुनले दिए ‘हिंसाप्रेरित’ अभिव्यक्ति, भने- ठोक्नैपर्छ(भिडियो)

काठमाडौं । डा. महावीर पुन स्वतन्त्र सांसदको रूपमा कानुन निर्माण गर्ने थलो प्रतिनिधिसभा आइपुगेका छन् ।

सांसद भएपछि उनले पदीय मर्यादा र गरिमा कायम राख्दै आफ्नो विचार राख्नुपर्छ । नीति निर्माण गर्ने सांसदबाट ‘हिंसाप्रेरित अभिव्यक्ति’ त आउनै हुँदैन ।

तर, उनले गृहमन्त्री सुधन गुरुङले एकपछि अर्को पूर्वविशिष्ट राजनीतिक पदाधिकारीलाई पक्राउ गरेको प्रसङ्गमा आइतबार भने, ‘ठोक्नैपर्छ ।’

उनको यो भनाइको आशय भ्रष्टाचारी, तस्कर, बिचौलिया मात्रै नभएर २३ भदौमा भएको जेन–जी विद्रोहमा तत्कालीन प्रधानमन्त्रीका रुपमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गरेर थुन्नुपर्छ भन्ने हो ।

तर, सांसदजस्तो भूमिकामा रहेका व्यक्तिले ‘ठोक्नुपर्छ’ भन्ने अभिव्यक्ति दिनु शोभनीय त होइन नै, पदीय गरिमा र मर्यादाविपरीत पनि हो ।

अर्यालको शालीनता र व्यवस्थापकीय क्षमताबाट संसद लाभान्वित हुनेछः डा. वाग्ले(भिडियाे)

काठमाडौं । अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सभामुख पदका उम्मेदवार डोलप्रसाद (डीपी) अर्यालको समर्थन गर्दै उनको अनुभव र शालीनताले संसदको गरिमा बढ्ने विश्वास व्यक्त गरेका छन्। आज संसदमा सभामुख चयन कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् । 

डा. वाग्लेले रास्वपाका संस्थापक नेता एवं उपसभापति अर्याललाई ‘सह-योद्धा र मित्र’ को रूपमा चित्रण गर्दै उनको उम्मेदवारीले संसदमा एउटा परिपक्व राजनीतिक र व्यवस्थापकीय अनुभव भित्रिने विश्वास व्यक्त गरे । डा. वाग्लेले अर्यालसँग कार्यपालिका र व्यवस्थापिका दुवैको अनुभव रहेको स्मरण पनि गराए । 

अर्यालको व्यक्तिगत गुणको चर्चा गर्दै वाग्लेले उनमा उत्कृष्ट व्यवस्थापकीय क्षमता, शालीन समन्वयकारी भूमिका र मध्यमवर्गीय संघर्षबाट खारिएको उन्नत चेत रहेको बताए । सभामुखको मुख्य गुण तटस्थता हुनुपर्नेमा जोड दिँदै डा. वाग्लेले अर्यालले कुनै दलीय आवद्धता नराखी जिम्मेवारी निभाउनेमा आफू विश्वस्त रहेको स्पष्ट पारे । उनले इतिहासका सफल सभामुखहरूको स्मरण गर्दै अर्याललाई ती मानकहरू पछ्याउन सुझाव समेत दिए। 

पूर्वसभामुख दमननाथ ढुंगानाले संसदलाई जीवन्त बनाउन खेल्नुभएको भुमिका र सुवास नेम्वाङको कानूनी विज्ञता एवं समन्वयकारी क्षमताबाट पनि नयाँ सभामुखले सिक्नुपर्ने उनले उल्लेख गरेका थिए । डा. वाग्लेले रास्वपाले ‘जेन–जी’ आन्दोलनको मर्म बोकेर अगाडि बढेको उल्लेख गर्दै अर्यालले आधुनिक पुस्ताका अपेक्षा र आकांक्षाहरूलाई आफ्नै शैलीमा ढालेर मौलिकता दिने विश्वास व्यक्त गरे।

डीपी अर्याल नेपालको १०औँ सभामुख (फोटो फिचर)

काठमाडौं । डीपी अर्याल नेपालको १०औँ सभामुख बनेका छन् । उनी ‘मध्यम लोकतान्त्रिक’ धारका शक्ति रास्वपाबाट सभामुख बनेका हुन् ।

देशमा संसदीय निर्वाचन भएको ६७ वर्ष भयो । यसबीचमा कांग्रेस, एमाले र माओवादीबाट सभामुख भए । पहिलो सभामुख नेपाली कांग्रेसबाट कृष्णप्रसाद भट्टराई भए ।

२०१५ को अन्तिमतिर भएको प्रतिनिधिसभा निर्वाचनपछि गठित संसदमा उनी सभामुख भएका थिए । संसदीय प्रजातन्त्रको बहालीपछि २०४८ सालमा भएको प्रतिनिधिसिभा निर्वाचनपछि पनि कांग्रेसकै दमननाथ ढुंगाना सभामुख भए ।

उनीपछि २०५१ मा कांग्रेसकै रामचन्द्र पौडेल (हाल राष्ट्रपति) र २०५६ मा कांग्रेसबाटै तारानाथ रानाभाट सभामुख भएका थिए ।

२०६३ को पुनःस्थापित प्रतिनिधिसभामा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ भए । २०६४ को संविधानसभा र २०७० को संविधानसभामा पनि नेम्बाङ नै सभामुख भए ।

२०७२ मा संविधान बनेपछिको रुपान्तरित व्यवस्थापिका संसदमा माओवादीकी ओनसरी घर्ती मगर सभामुख भइन् ।

२०७४ को प्रतिनिधिसभामा माओवादीकै कृष्णबहादुर महरा र उनी यौन दुव्र्यहारकाण्डमा परेपछि माओवादीकै अग्निप्रसाद सापकोटा र २०७९ को प्रतिनिधिसभामा एमालेका देवराज घिमिरे सभामुख भए ।

यसपटक भने रास्वपाले दुई तिहाइ नजिकको बहुमत प्राप्त गर्दा सोही दलका सांसद डीपी अर्याल निर्विरोध सभामुख भए ।

हेर्नुहोस् तस्बिरहरू

 

 

सुदूरपश्चिमद्वारा बागमतीलाई २ सय १० रनको लक्ष्य प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले वागमती प्रदेशसामु २१० रनको लक्ष्य प्रस्तुत गरेको छ।

जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा जारी खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४२.१ ओभरमा २०९ रनमै समेटिएको हो।

सुदूरपश्चिमका लागि नारायण जोशीले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ६८ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ७५ रन बनाए। त्यस्तै दीपक बोहराले ४०, अभिषेक पालले ३९ र अशोक धामीले १७ रन जोडे। अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

वागमतीका लागि कप्तान सन्दीप लामिछाने र प्रतिस जिसीले समान ४-४ विकेट लिए। त्यस्तै, सोनु देवकोटा र रिजन ढकालले एक एक विकेट लिए।

यसअघि टस जितेर वागमती प्रदेशले पहिले फिल्डिङ रोजेको थियो।

आइपिएलमा आज दुई खेल खेलिदै

काठमाडौं । १९ औँ संस्करणको जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।

आइतबारको पहिलो खेलमा सनराइजर्स हैदरावाद र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ। राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने उक्त खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ।

हालसम्म सनराइजर्स हैदरावादले २ खेल खेल्दा एकमा जित र एकमा हार बेहोरेको छ। उसले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार व्यहोरेको थियो भने दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको थियो। उता लखनउ सुपर जाइन्ट्स भने आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो।

त्यसैगरी, आजको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र चेन्नई सुपर किंग्स आमनेसामने हुनेछन्। बैंगलुरुमा हुने यो खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ।

रोयल च्यालेन्जर्स बैंगलुरुले आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो भने चेन्नई सुपर किंग्सले हालसम्म खेलेका दुवै खेलमा हार बेहोरेको छ।