`

भदौ २३ को आन्दोलन सरकार ढाल्न भएको होइन : माजिद अन्सारी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारी ले वर्तमान समयमा नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षा दुवै गम्भीर चुनौतीको सामना गरिरहेको बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालद्वारा स्थापना दिवसको अवसरमा आयोजित ‘नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षाको चुनौती’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले राज्यका गतिविधि, राजनीतिक अस्थिरता र भ्रष्टाचारका कारण जनविश्वास कमजोर बन्दै गएको टिप्पणी गरे।

कार्यक्रममा बोल्दै अन्सारीले लोकतान्त्रिक व्यवस्थामा नागरिकको स्वतन्त्रता सुरक्षित हुनुपर्ने भए पनि पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि दबाब बढिरहेको बताए। उनले सुरक्षा र स्वतन्त्रता एकअर्काका पूरक विषय भएको उल्लेख गर्दै राज्यले दुवैलाई सन्तुलित रूपमा संरक्षण गर्नुपर्ने धारणा राखे ।

उनले भदौ २३ मा भएको आन्दोलन सरकार ढाल्ने उद्देश्यले नभएको स्पष्ट पारे। उनका अनुसार उक्त आन्दोलन भ्रष्टाचारविरुद्ध जनस्तरबाट उठेको आवाज थियो। ‘भदौ २३ को आन्दोलन सरकार ढाल्न नभई भ्रष्टाचारविरुद्धमा थियो,’ उनले भने, ‘तर आफ्नै नागरिकलाई सडकमा पछारेपछि सरकार ढलेको हो।’

अन्सारीले जनताको असन्तुष्टि दबाब र बल प्रयोगबाट समाधान नहुने उल्लेख गर्दै सरकार जनभावनाप्रति संवेदनशील हुनुपर्ने बताए।

उनले युवाहरू राजनीतिक परिवर्तन, सुशासन र पारदर्शिताका पक्षमा सक्रिय रूपमा उभिनुपर्ने आवश्यकता औंल्याए।

राष्ट्रिय युवा संघ नेपालले स्थापना दिवसका अवसरमा आयोजना गरेको उक्त कार्यक्रमले वर्तमान राजनीतिक अवस्था, नागरिक अधिकार र राष्ट्रिय सुरक्षासम्बन्धी बहसलाई थप केन्द्रमा ल्याएको सहभागीहरूले बताएका छन्।

सरकारले संविधानका सीमा नाघेर काम गरिरहेको छ : भट्टराई

काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सरकारले संविधानविपरीत निर्णयहरू गर्दै सीमा नाघेर काम गरिरहेको आरोप लगाएका छन्।

‘नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षाको चुनौती’ विषयक कार्यक्रममा बोल्दै भट्टराईले ट्रेड युनियन तथा विद्यार्थी संगठन खारेज गर्ने प्रयास संविधानको भावना विपरीत भएको बताए। ‘नियमन गर्नुपर्छ, खारेज होइन,’ उनले भने।

उनले क्यान्सर लागेको अंगको उदाहरण दिँदै समस्या समाधानका लागि सुधार र उपचार आवश्यक हुने, पूर्ण रूपमा समाप्त पार्ने प्रवृत्ति उचित नभएको धारणा राखे। ‘क्यान्सर लागेको अंगमा उपचार गर्ने हो, काट्ने होइन,’ उनले टिप्पणी गरे।

भट्टराईले भदौ २२ गते एमालेको विधान महाधिवेशन र त्यसको भोलिपल्ट भदौ २३ गते भएको जेन जी आन्दोलनको प्रसंगसमेत उठाए। उनले एमालेले विधान महाधिवेशनमार्फत सबै कुरा ठीक रहेको सन्देश दिएको भए पनि पार्टीभित्र नेतृत्वकेन्द्रित राजनीति बढेको आरोप लगाए। ‘ओलीका लागि एमालेको सम्पूर्ण शक्ति प्रयोग गरियो, त्यसैले एमाले बिग्रियो,’ उनले भने।

उनले अमेरिकी नागरिक अधिकार अभियन्ता मार्टिन लुथर किङको उदाहरण प्रस्तुत गर्दै सामाजिक न्यायका पक्षमा युवाहरूले आवाज उठाउनुपर्ने बताए। ‘सामाजिक न्यायका विरुद्ध बोलिँदा युवा संघ कहाँ थियो ?’भन्दै उनले प्रश्न गरे।

कार्यक्रममा उनले लोकतान्त्रिक संस्थाहरूको स्वतन्त्रता, सामाजिक न्याय र संविधानसम्मत शासन प्रणालीको आवश्यकता रहेकोमा जोड दिए ।

सरकारले संविधान पुनःलेखन गर्न खोज्दैछ : अन्सारी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारी ले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रिया उचित नभएको बताएका छन्।

‘नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षाको चुनौती’ विषयक छलफल कार्यक्रममा बोल्दै अन्सारीले सरकारले संविधान संशोधनको नाममा पुनःलेखन गर्न खोजेको आरोप लगाए। उनले संविधान संशोधन आयोग गठन गर्नुको सट्टा सुझाव आयोग बनाउनुपर्ने धारणा राखे।

उनले संविधान संशोधन मात्रै सबै समस्याको समाधान नभएको उल्लेख गर्दै शहीद परिवार र द्वन्द्वपीडितहरूको अवस्था अझै दयनीय रहेको बताए। ‘शहीदको परिवारले न्याय पाएको छैन, घाइतेहरूको विचल्ली छ,’उनले भने।

अन्सारीले केही मामिलामा सरकारले संविधान मिचेको आरोपसमेत लगाए। ‘चुनाव जित्नु भनेको देश जित्नु होइन, संविधान जित्नु पनि होइन,’ भन्दै उनले लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादालाई सम्मान गर्न सरकारलाई आग्रह गरे।

उनका अनुसार सरकारले संविधान संशोधनका लागि ल्याएका प्रस्तावहरू पर्याप्त छलफल र सहमतिबिना अगाडि बढाइएकाले ती उपयुक्त नभएको बताए। कार्यक्रममा सहभागी वक्ताहरूले नागरिक स्वतन्त्रता, संविधानको कार्यान्वयन र राष्ट्रिय सुरक्षाबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका थिए।

बालेन शाह सर्वसत्तावादी हुन खोजेको सुशील प्याकुरेलको आरोप

काठमाडौं । मानवअधिकारकर्मी सुशील प्याकुरेल ले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनी सर्वसत्तावादी प्रवृत्तितर्फ उन्मुख भइरहेको आरोप लगाएका छन्।

‘नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षाको चुनौती’ विषयक छलफल कार्यक्रममा बोल्दै प्याकुरेलले प्रधानमन्त्रीले राष्ट्रपतिको मर्यादा नराखेको, संसदमा पर्याप्त रूपमा नबोलेको तथा जनतालाई सम्बोधन नगरेको विषय उल्लेख गरे।

उनले प्रधानमन्त्रीको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने अभ्यासमाथि पनि प्रश्न उठाए। ‘प्रधानमन्त्रीको नीति तथा कार्यक्रम राष्ट्रपतिले किन पढ्ने ? त्यसो भए व्यावहारिक सिद्धान्त हुँदैन,’ उनले भने।

प्याकुरेलले प्रधानमन्त्री पद केवल कार्यकारी जिम्मेवारीमा सीमित नभई सामाजिक उत्तरदायित्व बोकेको पदसमेत भएको बताए। ‘प्रधानमन्त्री भन्ने पद कार्यकारी मात्रै होइन, सामाजिक मान्छे पनि हो। जनतासँग बोल्नु पनि प्रधानमन्त्रीको दायित्व हो,’ उनले टिप्पणी गरे।

उनले वर्तमान राजनीतिक अवस्थाबारे बोल्दै प्रतिपक्ष कमजोर रहेको भनिए पनि लोकतन्त्रमा सानो प्रतिपक्षको भूमिका पनि महत्त्वपूर्ण हुने बताए। ‘अहिले प्रतिपक्ष सानो छ भनिन्छ, पञ्चायतमा पनि पाँच जना थिए,’ उनले स्मरण गरे।

यसैक्रममा उनले एमालेभित्र नेतृत्वविरुद्ध बोल्न नसक्ने संस्कृतिका कारण पार्टी कमजोर बन्दै गएको दाबी गरे। ‘एमाले ओलीका विरुद्ध बोल्न डराएर बिग्रेको हो,’ उनले भने।

कार्यक्रममा वक्ताहरूले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता तथा सत्ता र नागरिकबीचको सम्बन्धबारे धारणा राखेका थिए।

प्रधानन्यायाधीश सिफारिस प्रकरणले संविधानवाद धरापमा : टिकाराम भट्टराई

काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई ले प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी पछिल्लो प्रकरणले प्रजातन्त्र र संविधानवादमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।

‘नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षाको चुनौती’ विषयक कार्यक्रममा बोल्दै भट्टराईले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई ‘सिफारिस’ भनेर व्याख्या गर्नु नै गलत भएको टिप्पणी गरे। ‘प्रधानन्यायाधीशमा सिफारिस भन्ने नै हुँदैन, त्यो सिफारिस होइन, सिभी पठाएको हो,’ उनले भने।

उनले सरकारले आफूअनुकूल व्यक्तिलाई न्यायालयमा ल्याउने प्रयास गरेको आरोप लगाए। ‘सरकारले आफू अनुकूलको प्रधानन्यायाधीश बनाउन पाइन्छ भन्ने स्थापित गर्न खोज्यो,’ उनले बताए।

भट्टराईका अनुसार यस्तो प्रवृत्तिले न्यायपालिकाको स्वतन्त्रता कमजोर पार्ने र संविधानवादलाई धरापमा पार्ने खतरा बढाउँछ। उनले लोकतान्त्रिक शासन व्यवस्थामा न्यायालय स्वतन्त्र र निष्पक्ष रहनुपर्नेमा जोड दिए।

यसै क्रममा उनले विगतमा भएका केही नियुक्तिहरू पनि पूर्ण रूपमा सही नभएको टिप्पणी गरे। ‘हिजो गरिएका नियुक्ति पनि सबै सही थिएनन्,’ उनले भने।

कार्यक्रममा सहभागी वक्ताहरूले न्यायपालिकाको स्वतन्त्रता, संविधानको कार्यान्वयन र राज्यका अंगबीचको सन्तुलन कायम गर्न आवश्यक रहेको धारणा राखेका थिए।

रणवीर सिंहको ‘धुरन्धर–२’ पाकिस्तानमा ट्रेन्डिङमा गयो

काठमाडौं । भारतीय अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर–२’ ले पाकिस्तानमा नयाँ रेकर्ड बनाएको दाबी गरिएको छ । पाकिस्तानी कन्टेन्ट क्रिएटर माविया उमर फारूकीका अनुसार यो फिल्म नेटफ्लिक्समा रिलिज भएसँगै पाकिस्तानमा नम्बर १ ट्रेन्डिङमा पुगेको छ ।

उनका अनुसार अत्यधिक दर्शकको चापका कारण नेटफ्लिक्सको सर्भरसमेत केही समयका लागि प्रभावित (क्र्यास) भएको दाबी गरिएको छ । यद्यपि नेटफ्लिक्सले भने यसबारे कुनै आधिकारिक पुष्टि गरेको छैन । 

‘धुरन्धर’ र ‘धुरन्धर–२’ दुबै फिल्म पाकिस्तानका सिनेमा हलहरूमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको थियो । तर मे १५ मा नेटफ्लिक्समा रिलिज भएपछि फिल्मले ठूलो दर्शक आकर्षण पाएको बताइएको छ ।

क्रिएटर फारूकीका अनुसार रिलिज भएको २४ घण्टाभित्र फिल्मले करिब २० करोड भ्युज पाएको दाबी गरिएको छ । यद्यपि यो तथ्याङ्कमा एकै व्यक्तिले पटक–पटक हेर्दा समेत भ्युज गणनामा पर्ने भएकाले वास्तविक दर्शक संख्या फरक हुन सक्ने बताइएको छ । 

फिल्म पाकिस्तानमा ‘धुरन्धर : द रिभेन्ज (रअ एन्ड अनदेखा)’ शीर्षकमा स्ट्रिम भइरहेको जनाइएको छ । नेटफ्लिक्समा यसको करिब ३ घण्टा ५२ मिनेट लामो अनकट संस्करण उपलब्ध रहेको बताइन्छ ।

यस संस्करणमा भारतका हल संस्करणमा काटिएका करिब ३ मिनेटका एक्सन दृश्य र अतिरिक्त फुटेज समावेश गरिएको दाबी गरिएको छ ।

फिल्म अहिले पाकिस्तानसहित केही अन्तर्राष्ट्रिय देशहरूमा नेटफ्लिक्समा उपलब्ध भए पनि भारतमा भने स्ट्रिमिङमा नरहेको जनाइएको छ ।

पाँच महिनामै ३९ नयाँ एचआईभी सङ्क्रमित थपिए

चितवन । चितवन जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआईभी/एड्स सङ्क्रमितको संख्या १ हजार २६० पुगेको छ । भरतपुर अस्पताल एआरटी केन्द्रका अनुसार सन् २०२६ को पछिल्लो पाँच महिनामा मात्र ३९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

भरतपुर अस्पतालका एआरटी केन्द्रका डा. प्रमोद पौडेलका अनुसार पहिचान लुकाउने प्रवृत्तिका कारण संक्रमण फैलिने जोखिम बढ्दै गएको छ । उनका अनुसार यसले निर्दोष व्यक्तिहरू पनि सङ्क्रमित हुने अवस्था सिर्जना गरिरहेको छ ।

जिल्लामा रहेका कुल सङ्क्रमितमध्ये ६१६ पुरुष, ५९८ महिला, २८ बालबालिका र १८ तेस्रोलिङ्गी रहेका छन् । उपचारका लागि आउने बिरामीमध्ये चितवनका ८६८, नवलपरासीका २६७, मकवानपुरका २५, तनहुँका ३३, गोरखाका ३० र तराई क्षेत्रका ३७ जना रहेको डा. पौडेलले जानकारी दिए ।

नगरपालिकागत रूपमा हेर्दा भरतपुर महानगरपालिकामा ४७७, रत्ननगरमा १०१, खैरहनीमा ६१, राप्तीमा ५९, कालिकामा ५६, इच्छाकामनामा १३ र माडीमा १२ जना सङ्क्रमित रहेका छन् ।

 डा. पौडेलले सरकारी स्वास्थ्य संस्थामा कण्डम वितरणमा कमी आउँदा समस्या बढेको बताउँदै एचआईभी नियन्त्रणका लागि जनचेतना वृद्धि र एकीकृत कार्यक्रम आवश्यक रहेको उल्लेख गरे ।

त्यस्तै एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०२६ को पाँच महिनामा मात्र ७१ जना नयाँ सङ्क्रमित औषधि सेवनका लागि दर्ता भएका छन् ।

ध्रुबकृष्ण ताम्राकारको उपन्यास ‘दह’ लोकार्पण

काठमाडौं। साहित्यकार ध्रुबकृष्ण ताम्राकारको नवीनतम उपन्यास ‘दह’ एक समारोहबीच लोकार्पण गरिएको छ । कार्यक्रममा उपन्यासकार विष्णु एस राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा साहित्यकार सूर्यप्रसाद लाकोजू, समालोचक हरिप्रसाद सिलवाल तथा कथाकार एवं समालोचक ध्रुब मधिकर्मी लगायतले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए ।

वक्ताहरूले उपन्यास ‘दह’ प्रेम, पीडा, मिलन–बिछोड र नेपाली समाजको यथार्थलाई समेटिएको कृति भएको बताएका छन् । लेखक ताम्राकारले उपन्यास नेपाली जीवनको यथार्थ चित्रणमा आधारित रहेको बताए ।

कथासंग्रह, कवितासंग्रह, मुक्तक तथा गीतसंग्रह प्रकाशित गरिसकेका ताम्राकारको ‘दह’ पहिलो उपन्यास हो । पुस्तकलाई अक्षरमार्गले प्रकाशन गरी बजारमा ल्याएको हो ।

मेयर राजेशमानसहित ४ जनाविरुद्ध मुद्दा दर्ता, के हो कसुर ?

वीरगन्ज। वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।

जिल्ला महान्यायाधिवक्ता कार्यालयले झुटा प्रमाण पेस गरी नागरिकता तथा राहदानी (पासपोर्ट) बनाएको आरोपका आधारमा नगर प्रमुख सिंहसहित चार जनाविरुद्ध शुक्रबार अदालतमा मुद्दा दर्ता गरेको हो ।

मुद्दा पर्सा जिल्ला अदालतको मुद्दा नं. ८२–सी–१–१०८३ मा दर्ता भएको अदालतका श्रेस्तेदार प्रभाकर कुमार मलिकले जानकारी दिएका छन् ।

मुद्दामा नगर प्रमुख सिंहसँगै सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराई, रुविना श्रेष्ठ तथा वीरगन्ज महानगरपालिकाका तत्कालीन पञ्जीकरण अधिकारी भिखारी रायलाई प्रतिवादी बनाइएको छ ।

सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ अनुसार सजायको माग गर्दै मुद्दा दायर गरेको हो ।

सोही घटनासँग सम्बन्धित अन्य तीन वटा मुद्दा पनि दर्ता भएका छन् । ती मुद्दाहरू ८२–सी–१–१०८४, ८२–सी–१–१०८५ र ८२–सी–१–१०८६ नम्बरमा दर्ता भएका हुन् ।

मुद्दा नं. १०८४ मा रुविना श्रेष्ठविरुद्ध ६ महिना कैद वा एक वर्ष बाल सुधार गृहको सजायको माग गरिएको छ । मुद्दा नं. १०८५ मा झुटा विवरणका आधारमा नागरिकता लिएको आरोपमा १५ हजार रुपैयाँ जरिवानाको माग गरिएको छ । मुद्दा नं. १०८६ मा नागरिकता र राहदानी दुरुपयोगको आरोपमा २ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र १ देखि ३ वर्षसम्म कैद सजायको माग गरिएको छ ।

आरोपपत्र अनुसार नगर प्रमुख सिंहले रिता भट्टराईलाई श्रीमती भएको झुटा विवरण पेस गरी २०७१ माघ २० गते रुविनाको जन्म दर्ता गराएको र त्यसैका आधारमा २०७५ साउन १० गते नागरिकता तथा पछि राहदानी बनाइएको दाबी गरिएको छ ।

केन्द्रीय कारागारबाट सपना फरार

काठमाडौं । काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट एक जना कैदी फरार भएकी छन् । महिला ब्लकमा रहेकी २५ वर्षीया सपना तामाङ कारागारबाट भागेकी हुन् ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रवीण धितालका अनुसार शुक्रबार बिहान करिब १:३० बजेतिर उनी कारागारको कम्पाउन्ड पर्खाल नाघेर फरार भएकी हुन् ।

नुवाकोट घर भएकी तामाङलाई अदालतले शरीर बन्धक र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा कैद सजाय तोकेको थियो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनले कारागार कम्पाउन्डको झ्यालबाट चढेर पर्खाल नाघी भागेको देखिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको एसएसपी धितालले बताएका छन् ।

केन्द्रीय कारागारको सुरक्षा प्रमुख डीएसपी शैलेश न्यौपाने रहेको बताइएको छ ।

यसअघि पनि केन्द्रीय कारागारको महिला बन्दी गृहमा २०८२ फागुन १ गते झडप भएको थियो । हाल उक्त महिला ब्लकमा ३०० भन्दा बढी महिला कैदीबन्दी राखिएको जनाइएको छ ।

मुस्ताङमा वन्यजन्तु आक्रमणबाट २३९ पशुधन क्षति

मुस्ताङ। पछिल्लो चार वर्षको अवधिमा मुस्ताङका तीन गाउँपालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ वटा पशुधन क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय, जोमसोमका अनुसार बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा किसानका पशुधनमा लगातार क्षति हुँदै आएको हो ।

तीन पालिकामा हिउँ चितुवा, चितुवा र ब्वाँसोको आक्रमणबाट ६८ घरधुरीका २३९ पशुधन मरेका छन् । एक्यापका प्रमुख राजेश गुप्ताका अनुसार यस अवधिमा १२ याक, ७ चौँरी, ११७ च्याङ्ग्रा, ३८ भेँडा–बाख्रा, २ खच्चड र ८ घोडासहित अन्य पशुधन क्षति भएको हो ।

आर्थिक वर्ष २०७९/८० मा ३१ वटा, २०८०/८१ मा ५६ वटा, २०८१/८२ मा ८६ वटा र चालु आर्थिक वर्षको वैशाखसम्म ६६ वटा पशुधनमा क्षति भएको तथ्याङ्क छ ।

वन्यजन्तु क्षति राहत निर्देशिका २०८० अनुसार एक्यापले पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ । सोअनुसार याक, चौँरी, घोडा र खच्चडका लागि अधिकतम ६० हजार रुपैयाँ तथा भेँडा–च्याङ्ग्राका लागि अधिकतम १० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था छ ।

चार आर्थिक वर्षमा तीन पालिकाका किसानलाई कुल २५ लाख २१ हजार रुपैयाँ राहत वितरण गरिएको एक्यापले जनाएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म मात्र ५ लाख २९ हजार रुपैयाँ किसानको बैंक खातामा पठाइएको छ ।

यस्तै, उपल्लो मुस्ताङ क्षेत्रका किसानलाई पनि पछिल्लो तीन वर्षमा ४५ लाख ९९ हजार रुपैयाँ राहत उपलब्ध गराइएको एक्याप लोमान्थाङ कार्यालयले जनाएको छ ।

एक्यापका अनुसार जलवायु परिवर्तनका कारण उच्चलेक क्षेत्रमा चरनभूमि घट्दै जानु, घाँस उत्पादन कम हुनु र पानीका स्रोत सुक्दै जानुका कारण वन्यजन्तु बस्ती नजिक झर्ने क्रम बढेको छ ।

गोठ तथा खोरहरू पर्याप्त सुरक्षित र दिगो संरचनामा नबनाइएकाले पनि पशुधन क्षतिको जोखिम थपिएको एक्यापले जनाएको छ ।

लिग–२ मा अमेरिकाले दियो नेपाललाई १९६ रनको लक्ष्य (तस्वीरहरू)

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले नेपाललाई जितका लागि १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनायो । एक समय १५३ रनमा ३ विकेट मात्र गुमाएको अमेरिका त्यसपछि मात्र ३७ रन थप्दा बाँकी ७ विकेट गुमाउँदै अलआउट भयो ।

अमेरिकाका लागि ओपनर स्मित पटेल र सेहान जयसूर्याले अर्धशतकीय इनिङ्स खेले । पटेलले ८९ बलमा ३ छक्का र ८ चौकासहित ८३ रन बनाए भने जयसूर्याले ५२ बलमा १ छक्का र ५ चौकासहित ५० रन जोडे । मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाए पनि अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् ।

नेपालका लागि बलिङमा दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे । सन्दीप लामिछाने र गुलशन झाले १–१ विकेट लिए ।

यस शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्डबीच हालसम्म दुई खेल सकिएका छन्, जसमा दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ–लुइस नियमका आधारमा २ रनले हराएको थियो भने दोस्रो खेलमा अमेरिकालाई पनि सोही नियमअनुसार २ रनले पराजित गरेको थियो ।

लिग–२ को अंक तालिकामा नेपाल हाल २५ खेलमा ८ जित, १५ हार र २ अनिर्णित नतिजासहित १८ अंकका साथ आठौं स्थानमा छ । अमेरिका २५ खेलमा १८ जित र ७ हारसहित ३६ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने स्कटल्याण्ड ३० खेलमा ३८ अंकसहित शीर्ष स्थानमा छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा: के-के व्यवस्था हेरफेर ? (पूर्णपाठ)

काठमाडौं। नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा (स्ट्यान्डिङ डिपोजिट फेसिलिटी) उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गर्ने भएको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन यस्तो कदम चाल्ने जनाएको हो ।

समीक्षामा उल्लेख गरिएको छ, ‘ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिनेछ ।’

राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति केन्द्रीय बैंकको लक्ष्यअनुसार नै रहने अनुमानका आधारमा न्यून आर्थिक वृद्धिको अवस्थालाई ध्यानमा राख्दै चालु आर्थिक वर्षदेखि अपनाइएको लचिलो मौद्रिक नीतिको कार्यदिशा निरन्तर रहनेछ ।

यसैगरी ब्याजदर करिडोर, बैंक दर, अनिवार्य नगद मौज्दात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) सम्बन्धी विद्यमान व्यवस्था भने यथावत् राखिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

पूर्णपाठ पढ्नुहोस् :

पृष्ठभूमि

अर्थतन्त्रको दिगो आर्थिक विकासका लागि मूल्य र शोधनान्तर स्थिरता एवं वित्तीय स्थायित्व कायम गर्दै आर्थिक वृद्धिलाई सहयोग पु¥याउने मूलभूत उद्देश्यका साथ आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति २०८२ असार २७ गते जारी गरिएको थियो । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा २०८२ मंसिर १५ र अर्धवार्षिक समीक्षा २०८२ फागुन १२ गते सार्वजनिक गरिएको थियो।

आर्थिक वर्ष २०८२÷८३ मा आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमान छ । मुद्रास्फीति लक्ष्यभन्दा कम छ । विप्रेषण आयको बढोत्तरीले चालु खाता र शोधनान्तर बचत उल्लेख्य रहनुको साथै विदेशी विनिमय सञ्चिति यथेष्ट रहेको छ । यद्यपि, पछिल्लो समय पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ, रासायनिक मल र औद्योगिक कच्चा पदार्थलगायतको आयातमा देखिएको अवरोध तथा मूल्य वृद्धिले अर्थतन्त्र प्रभावित हुन थालेको छ।

वित्तीय प्रणालीमा न्यून ब्याजदर सहित लगानीयोग्य तरलता पर्याप्त रहेतापनि समष्टिगत मागमा अझै अपेक्षित सुधार आउन सकेको छैन । २०८२ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट नयाँ सरकार गठन भई शासकीय एवं आर्थिक सुधारका कार्यहरू थालनी गरिएकाले लगानी अभिवृद्धि भई समष्टिगत माग र आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने यस बैंकको अपेक्षा रहेको छ।

यस पृष्ठभूमिमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा भएको मौद्रिक नीतिको कार्यान्वयन स्थिति, समष्टिगत आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरिएको छ।

विश्व अर्थतन्त्रको स्थिति र परिदृश्य

२०८२ फागुन १६ देखि सुरु भएको पश्चिम एसियाको तनावले विश्व आपूर्ति श्रृङ्खला प्रभावित भएको छ । यस अवधिमा पेट्रोलियम पूर्वाधारमा भएको क्षति एवं स्ट्रेट अफ होर्मुजमा देखिएको अवरोधका कारण कच्चा तेलको मूल्य औसतमा ५० प्रतिशतले वृद्धि भएको छ । समग्रमा आयातित वस्तुहरूको मूल्य बढेका कारण विश्व मुद्रास्फीति र आर्थिक वृद्धि प्रभावित भएको छ । सन् २०२५ मा विश्व मुद्रास्फीति ४.१ प्रतिशत रहेकोमा सन् २०२६ मा ४.४ प्रतिशत पुग्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ।

विश्व बजारमा २० प्रतिशतभन्दा बढी पेट्रोलियम पदार्थको हिस्सा रहेको यस क्षेत्रको तनावले विश्व अर्थतन्त्र अनिश्चिततातर्फ धकेलिएको कोषको विश्लेषण छ । सन् २०२६ मा विश्वको आर्थिक वृद्धि ३.४ प्रतिशत कायम हुने प्रक्षेपण रहेकोमा युद्धका कारण ३.१ प्रतिशत रहने प्रक्षेपण छ । पश्चिम एसियाको तनाव तत्काल समाधान नभए विश्वले आर्थिक मन्दी र उच्च मुद्रास्फीतिको सामना गर्नुपर्ने कोषको विश्लेषण छ।

सन् २०२६ मा विकसित र उदीयमान तथा विकासोन्मुख मुलुकहरूको आर्थिक वृद्धि क्रमशः १.८ प्रतिशत र ३.९ प्रतिशत कायम हुने प्रक्षेपण छ । छिमेकी मुलुकहरूमध्ये भारतको आर्थिक वृद्धि ६.५ प्रतिशत र चीनको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने प्रक्षेपण छ।

भूराजनीतिक तनाव र इन्धनको मूल्य वृद्धिसँगै विश्व मुद्रास्फीतिमा चाप पर्दै गए तापनि हाललाई विश्वका प्रमुख केन्द्रीय बैंकहरूले नीतिगत दर यथावत् कायम राखेका छन्।

आन्तरिक आर्थिक तथा वित्तीय स्थिति

मुद्रास्फीति

२०८२ चैतमा वार्षिक विन्दुगत मुद्रास्फीति ४.४७ प्रतिशत रहेको छ । २०८१ चैतमा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ४.०१ प्रतिशत एवं गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ।

२०८२ चैतमा थोक मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२० प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासमा वार्षिक विन्दुगत तलब तथा ज्याला सूचकाङ्क २.६० प्रतिशतले बढेकोमा २०८२÷८३ को सोही अवधिमा ६.३० प्रतिशतले बढेको छ।

बाह्य क्षेत्र

आर्थिक वर्ष २०८२÷८३ को नौ महिनामा कुल वस्तु निर्यात १८.५ प्रतिशतले वृद्धि भई रु. २ खर्ब २२ अर्ब ९४ करोड पुगेको छ । यस अवधिमा वस्तु आयात १३.८ प्रतिशतले वृद्धि भई रु. १४ खर्ब ९० अर्ब ५० करोड पुगेको छ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १३.० प्रतिशतले वृद्धि भई रु. १२ खर्ब ६७ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.४ प्रतिशतले वृद्धि भएको थियो।

आर्थिक वर्ष २०८२÷८३ को नौ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशत (अमेरिकी डलरमा ३१.९ प्रतिशत) ले वृद्धि भई रु. १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह १०.२ प्रतिशतले वृद्धि भएको थियो।

समीक्षा अवधिमा चालु खाता रु. ६ खर्ब १८ अर्ब ६८ करोडले र शोधनान्तर रु. ७ खर्ब ३१ अर्ब १६ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु. २ खर्ब २२ अर्ब ६७ करोड र शोधनान्तर रु. ३ खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको थियो । फलस्वरूप, कुल विदेशी विनिमय सञ्चिति २०८२ चैतमा रु. ३४ खर्ब ९४ अर्ब ७३ करोड (अमेरिकी डलरमा २३ अर्ब ५५ करोड) पुगेको छ।

सरकारी वित्त

आर्थिक वर्ष २०८२÷८३ को नौ महिनासम्ममा चालु खर्च रु. ७ खर्ब ४७ अर्ब ५२ करोड, पुँजीगत खर्च रु. ९६ अर्ब २० करोड र वित्तीय व्यवस्था खर्च रु. २ खर्ब १६ अर्ब २३ करोड गरी नेपाल सरकारको कुल खर्च रु. १० खर्ब ५९ अर्ब ९५ करोड भएको छ । यस अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु. ८ खर्ब ८६ अर्ब २८ करोड भएको छ । समीक्षा अवधिमा सरकारी खर्च गत वर्षको सोही अवधिको तुलनामा ६.२ प्रतिशतले र राजस्व परिचालन ६.६ प्रतिशतले वृद्धि भएको छ।

आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्ममा नेपाल सरकारले रु. २ खर्ब ८३ अर्ब ६७ करोड आन्तरिक र रु. ६४ अर्ब ४९ करोड बाह्य गरी कुल रु. ३ खर्ब ४८ अर्ब १६ करोड सार्वजनिक ऋण परिचालन गरेको छ । यस अवधिमा रु. १ खर्ब ६३ अर्ब ७८ करोड आन्तरिक ऋण र रु. ४० अर्ब ३९ करोड बाह्य ऋण गरी रु. २ खर्ब ४ अर्ब १७ करोड सार्वजनिक ऋण भुक्तानी भएको समेतलाई गणना गर्दा आन्तरिक र बाह्य गरी खुद रु. १ खर्ब ४३ अर्ब ९९ करोड सार्वजनिक ऋण परिचालन भएको छ।

मौद्रिक तथा वित्तीय क्षेत्र

आर्थिक वर्ष २०८२÷८३ को नौ महिनामा विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्राप्रदाय ६.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ८.५ प्रतिशतले वृद्धि भई रु. ७८ खर्ब ७९ अर्ब ५४ करोड पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले वृद्धि भई रु. ५८ खर्ब ९ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशतले वृद्धि भएको थियो।

२०८२ चैत महिनामा निक्षेपको भारित औसत ब्याजदर वाणिज्य बैंकको ३.४० प्रतिशत, विकास बैंकको ३.७७ प्रतिशत र वित्त कम्पनीको ४.७४ प्रतिशत कायम रहेको छ भने कर्जाको भारित औसत ब्याजदर वाणिज्य बैंकको ६.७७ प्रतिशत, विकास बैंकको ७.९६ प्रतिशत र वित्त कम्पनीको ९.२६ प्रतिशत कायम रहेको छ।

यस बैंकमा खुला बजार कारोबारका विभिन्न उपकरणमार्फत बैंकिङ प्रणालीको तरलता प्रशोचनबाट २०८३ वैशाख मसान्तमा रु. १० खर्ब २८ अर्ब ६० करोड मौज्दात रहेको छ।

समीक्षा अवधिमा यस बैंकले वाणिज्य बैंकहरूबाट अमेरिकी डलर ५ अर्ब २७ करोड खुद खरिद गरी रु. ७ खर्ब ५७ अर्ब ७७ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर खुद खरिदमार्फत रु. ४ खर्ब ८४ अर्ब ७१ करोड तरलता प्रवाह भएको थियो।

मौद्रिक नीतिको कार्यान्वयन स्थिति

आर्थिक वर्ष २०८२÷८३ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.० प्रतिशतभित्र सीमित राख्ने लक्ष्य रहेकोमा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा औसत मुद्रास्फीति २.३९ प्रतिशत रहेको छ।

कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८२ चैतमा कायम सञ्चितिबाट १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूसँग तरलता उल्लेख्य रहे तापनि खुला बजार कारोबारबाट तरलता प्रशोचन निरन्तर भइरहेका कारण २०८२ चैतमा बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर ब्याजदर करिडोरभित्रै रहेको छ।

आर्थिक वर्ष २०८२÷८३ का लागि जारी गरिएको मौद्रिक नीति तथा सोको पहिलो त्रैमासिक समीक्षा र अर्धवार्षिक समीक्षाबाट गरिएका अधिकांश नीति तथा कार्यक्रमहरू कार्यान्वयनमा आइसकेका छन्।

आर्थिक तथा वित्तीय परिदृश्य

आर्थिक वर्ष २०८२÷८३ मा आन्तरिक तथा बाह्य दबाबका बावजुद आर्थिक वृद्धि ३.८५ प्रतिशत कायम रहने राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमान छ । यसमध्ये मौसम प्रतिकूलता र प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमात्र रहे तापनि उद्योग क्षेत्रको वृद्धिदर ५.६७ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४.२१ प्रतिशत कायम हुने प्रारम्भिक अनुमान छ । चालु आर्थिक वर्ष कुल गार्हस्थ उत्पादनमा लगानीको हिस्सा बढेको छ । क्षेत्रगत उत्पादनमध्ये थोक तथा खुद्रा व्यापार, आन्तरिक तथा बाह्य पर्यटन, जलविद्युत्, वित्तीय तथा बीमा, यातायात तथा भण्डारण र सूचना प्रविधिको क्षेत्र विस्तार हुँदै गएकोले समष्टिगत मागमा क्रमिक सुधार हुने अनुमान छ । सरकारले शासकीय, आर्थिक तथा कानुनी सुधारमा प्राथमिकता दिएकोले विद्यमान मौद्रिक कार्यदिशाको निरन्तरता समेतबाट लगानी अभिवृद्धि भई आर्थिक क्रियाकलाप विस्तारमा सघाउ पुग्ने अपेक्षा छ।

मुद्रास्फीति यस बैंकको लक्ष्यभन्दा न्यून रहेको छ । तथापि, विश्व भूराजनीतिक तनाव जारी रहेमा मुद्रास्फीतिमा चाप पर्ने जोखिम छ । पश्चिम एसियामा युद्ध सुरु भएयता पेट्रोलियम पदार्थ, उद्योगको लागि आवश्यक कच्चा पदार्थ र कतिपय उपभोग्य वस्तुहरूको आपूर्ति श्रृङ्खला प्रभावित भएको छ । यस अवधिमा (२०८२ फागुन १६ देखि २०८३ वैशाख ३१ सम्म) नेपालमा पेट्रोलको मूल्य ३५ प्रतिशत र डिजेलको मूल्य ५८ प्रतिशतले बढेको छ । यद्यपि, आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्मको औसत उपभोक्ता मुद्रास्फीति २.३९ प्रतिशत रहेकोले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति लक्षित सीमाभित्र रहने प्रक्षेपण छ।

अर्थतन्त्रको बाह्य क्षेत्र सहज स्थितिमा छ । चालु आर्थिक वर्षको नौ महिनासम्म विप्रेषण आप्रवाह उल्लेख्य विस्तार भएकोले चालु खाता, शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति बढ्दो क्रममा रहेको छ । तर, नेपालमा करिब ४० प्रतिशत विप्रेषण आप्रवाह पश्चिम एसियाबाट प्राप्त हुने गरेकोले सो क्षेत्रमा जारी तनाव कायम रहेमा विप्रेषण आप्रवाह प्रभावित हुने र इन्धन तथा आयातित वस्तुको मूल्य वृद्धि भई व्यापार घाटा विस्तार हुने समेतका कारण विदेशी विनिमय सञ्चितिमा दबाब पर्ने जोखिम छ । तथापि, विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता यस बैंकको लक्ष्यभन्दा माथि रहने प्रक्षेपण छ।

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा सामान्य बढे तापनि आर्थिक गतिविधि सुधारसँगै यस्तो कर्जामा सुधार आउने अपेक्षा छ । २०८२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजी र पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात नियामकीय मापदण्डभित्रै रहेको छ । समग्रमा वित्तीय स्थायित्व कायम छ।

विगत तीन वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति रहँदै आएको छ । यसरी वित्तीय प्रणालीमा लामो समय अधिक तरलता रहँदा विभिन्न समष्टिगत आर्थिक परिसूचकमा पर्न सक्ने प्रभावलाई व्यवस्थापन गर्न आवश्यक कदमका लागि बैंक सजग रहेको छ।

नीतिगत व्यवस्था

विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति यस बैंकको लक्ष्यअनुरूप नै रहने प्रक्षेपणको आधारमा न्यून आर्थिक वृद्धिको स्थितिलाई दृष्टिगत गरी चालु आर्थिक वर्षको सुरुदेखि नै लिइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ।

ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत् कायम गरिएको छ।

ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिनेछ।

अन्त्यमा,

चालु आर्थिक वर्षको मौद्रिक नीति र सोको समीक्षाहरूमा गरिएका व्यवस्थाहरूबाट मूल्य, बाह्य क्षेत्र र वित्तीय क्षेत्र स्थायित्व कायम हुँदै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा रहेको छ । मौद्रिक नीतिको समीक्षाका क्रममा प्रत्यक्ष÷परोक्ष सहयोग पु¥याउने सबै सरोकारवालाहरूलाई यस बैंक धन्यवाद ज्ञापन गर्दछ । साथै, मौद्रिक नीतिको कार्यान्वयनमा सदैव सबैको सहयोग रहने यस बैंकको विश्वास रहेको छ ।

साफ च्याम्पियनसिपका लागि एञ्जिलाको कप्तानीमा नेपाली टोली घोषणा,को-को छन् ?

काठमाडौं। साफ च्याम्पियनसिप २०२६ का लागि एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपाली महिला फुटबल टोली घोषणा गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)माथिको निलम्बन फुकुवा गरेसँगै नेपालले साफ च्याम्पियनसिप खेल्ने निश्चित भएको हो ।

निलम्बन फुकुवापछि प्रमुख प्रशिक्षक नवीन न्यौपानेले २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको चोटका कारण पुनःस्थापनामा रहेकाले टोलीको कप्तानी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले सम्हाल्ने भएकी छन् ।

साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेका छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र माल्दिभ्स रहेका छन् ।

नेपालको टोली :

गोलकिपर :
एञ्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर :
गिता राना मगर, पुना राना, विमला विक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर, सबिना चौधरी

मिडफिल्डर :
रेनुका नगरकोटी, दिपा शाही, प्रिती राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी

फरवार्ड :
रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई, मिना देउवा

प्रमुख प्रशिक्षक :
नवीन न्यौपाने

९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारी र उच्च शिक्षाका नाममा ठगी गर्ने ९५ वटा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) माथि एकैसाथ छापा मारेको छ ।

प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा ६९ जना कन्सल्टेन्सी सञ्चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

विदेश अध्ययनका लागि पठाइदिन्छु भन्दै नेपाली नागरिकहरूबाट रकम असुली ठगी गरेको उजुरी परेपछि प्रहरीले शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित कन्सल्टेन्सीहरूमा एकैपटक छापा मारेको हो ।

प्रहरीका अनुसार कारबाहीमा परेका संस्थाहरूले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शैक्षिक परामर्श सेवा एवं भाषा शिक्षण निर्देशिका २०७३ मा उल्लेखित मापदण्ड उल्लंघन गरेको पाइएको छ ।

ती कन्सल्टेन्सीहरूले विधिवत् दर्ता तथा नवीकरण नगरी सञ्चालन गरेको, सरकारबाट अनुमति नलिई शैक्षिक परामर्श, भाषा शिक्षण र पूर्वतयारी कक्षा सञ्चालन गरेको तथा विदेश पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणलाई आर्थिक रूपमा ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका ६९ जना सञ्चालकमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले यस्ता कन्सल्टेन्सीमार्फत ठगीमा परेका अन्य पीडितहरूलाई पनि टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

पछिल्लो समय वैदेशिक अध्ययन र रोजगारीका नाममा ठगीका घटना बढ्दै गएपछि प्रहरीले उपत्यकाभर निगरानी कडा बनाएको जनाएको छ ।

ताइवानलाई स्वतन्त्रता घोषणा नगर्न ट्रम्पको चेतावनी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्र घोषणा नगर्न चेतावनी दिएका छन् ।

बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको दुई दिने शिखर सम्मेलनपछि शुक्रबार फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले भने, ‘म कसैले स्वतन्त्रता घोषणा गरेको हेर्न चाहन्नँ ।’

ताइवानका राष्ट्रपति लाइ चिङ–तेले यसअघि नै ताइवान आफूलाई सार्वभौम राष्ट्र मानिसकेको र औपचारिक स्वतन्त्रता घोषणा आवश्यक नभएको धारणा सार्वजनिक गर्दै आएका छन् ।

चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग दाबी गर्दै आएको छ । आवश्यक परे बल प्रयोग गरेर कब्जा गर्न सक्ने सम्भावनालाई समेत बेइजिङले अस्वीकार गरेको छैन ।

यसअघि पनि ट्रम्पले ताइवानका विषयमा आफूले कुनै पक्षमा स्पष्ट प्रतिबद्धता नजनाएको बताएका थिए । उनले भने, ‘हामीले युद्ध लड्नका लागि ९ हजार ५०० माइल यात्रा गर्नुपर्ने हुन्छ । म त्यो चाहन्नँ । म उनीहरू शान्त रहून् भन्ने चाहन्छु । म चीन पनि शान्त रहोस् भन्ने चाहन्छु ।’

वासिङ्टन फर्किने क्रममा विमानभित्र पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू र सीबीच ताइवानका विषयमा लामो छलफल भएको जानकारी दिएका थिए । तर, चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले सैन्य रूपमा रक्षा गर्छ कि गर्दैन भन्ने प्रश्नमा भने उनले प्रतिक्रिया दिन अस्वीकार गरे ।

ट्रम्पका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ ताइवानको विषयमा अत्यन्त संवेदनशील छन् र कुनै पनि स्वतन्त्रता आन्दोलन स्वीकार गर्न चाहँदैनन् । चिनियाँ सरकारी सञ्चारमाध्यमले पनि वार्ताका क्रममा सीले ताइवानसम्बन्धी विषयलाई अत्यन्त गम्भीर रूपमा उठाएको उल्लेख गरेका छन् ।

चीन र ताइवानबीच द्वन्द्वको सम्भावना देख्नुहुन्छ भन्ने प्रश्नमा ट्रम्पले भने, ‘मलाई त्यस्तो लाग्दैन । मलाई लाग्छ हामी ठीक हुनेछौँ । सी युद्ध चाहँदैनन् ।’

बाँदर धपाउन गएकी महिला मकैबारीमा मृत फेला

ओखलढुङ्गा। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीमा बाँदर धपाउन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

मानेभञ्ज्याङ गाउँपालिका–१ गहते बस्ने ४४ वर्षीया चेतकुमारी थापा मगर बिहीबार आफ्नै मकैबारीमा मृत अवस्थामा फेला परेकी हुन् ।

स्थानीय ओम थापा मगरकी छोरी चेतकुमारी बिहीबार मध्यान्ह करिब १२ बजे मकैबारीमा बाँदर धपाउन गएकी थिइन् । लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो ।

खोजीका क्रममा उनकी आमाले बारीको भित्तामा कोल्टे परेको अवस्थामा चेतकुमारीलाई मृत फेला पारेकी प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी निसंखेबाट प्रहरी सहायक निरीक्षक विनोदकुमार खाँ थारुको कमाण्डमा दुई सदस्यीय टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनास्थल सुरक्षित राख्नुका साथै थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक ईश्वर अधिकारीको नेतृत्वमा थप टोली खटाइएको जनाएको छ ।को कारण खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

देउवा पक्षीय कर्णाली भेला : गगन-विश्वलाई चुनौती

काठमाडौं। नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा निकट समूहले ‘बृहत् एकता’ अभियानलाई तीव्र बनाइरहेका बेला कर्णाली प्रदेशमा शनिबार प्रदेशस्तरीय भेला आयोजना गरिएको छ । भेलालाई सम्बोधन गर्न कांग्रेस नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का तीन दिनदेखि गृह जिल्ला सुर्खेतमै सक्रिय छन् ।

देउवा समूहको पहलमा देशका विभिन्न प्रदेशमा आयोजना भइरहेको भेलाअन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यक्रम सुर्खेतमा गर्न लागिएको हो । १४औँ महाधिवेशनमा देउवा समूहको बलियो प्रभाव रहेको कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा हुने भेलाको संयोजन पूर्वमुख्यमन्त्री जीवन शाही ले गरिरहेका छन् ।

भेलामा स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य, कर्णालीबाट प्रतिनिधित्व गर्ने वर्तमान तथा पूर्व केन्द्रीय सदस्य, जिल्लाका पार्टी पदाधिकारी, वडा तहका प्रतिनिधि तथा भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।

स्रोतका अनुसार प्रदेशसभा सदस्यहरूलाई संसदीय दलमार्फत निर्देशनात्मक पत्राचार गरिएको छ। भने प्रदेश समितिमार्फत पार्टी पदाधिकारीलाई अनिवार्य उपस्थित हुन भनिएको छ । यद्यपि, देउवा समूहले आयोजना गरेको भेलामा सहभागी हुने वा नहुने भन्ने विषयमा केही जनप्रतिनिधि र पार्टी पदाधिकारी अझै अन्योलमा देखिएका छन् ।

खड्काको गृह जिल्ला सुर्खेतमा हुने कार्यक्रमलाई शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ । भेलामा व्यापक सहभागिता सुनिश्चित गर्न कार्यकर्तामाझ सर्कुलरसमेत गरिएको छ । कार्यक्रमभन्दा दुई दिनअघि नै सुर्खेत पुगेका खड्काले जिल्लाका नेता तथा कार्यकर्तासँग निरन्तर भेटघाट गरिरहेका छन् ।

कांग्रेसभित्र पछिल्लो समय देखिएको गुटगत सक्रियताबीच कर्णालीमा देउवा समूहको यो भेला विशेष चासोका साथ हेरिएको छ । यसअघि वैशाख २८ र २९ गते कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका नेताले कर्णालीमा प्रदेशस्तरीय भेला गरेका थिए ।

देउवा समूहले आयोजना गर्न लागेको यो कार्यक्रमलाई उक्त भेलाको राजनीतिक प्रतिउत्तरका रूपमा समेत व्याख्या गरिएको छ ।

‘महावीर पुन, रास्वपा नै हुन्, अब मन्त्री पड्काउँछन्, सबैलाई थर्काउँछन्’ : हर्क साम्पाङ

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन अब मन्त्री बन्ने दाबी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरेका छन् । मन्त्री बनेर पुनले सबैलाई थर्काउने साम्पाङले बताए ।

उनले भनेका छन्, ‘महावीर पुन, रास्वपा नै हुन्, अब मन्त्री पड्काउँछन्, सबैलाई थर्काउँछन् ।’

म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित पुन यसअघि नै मन्त्री बन्ने चर्चा थियो । तर, प्रधानमन्त्री बालेनले उनलाई मन्त्री बनाएनन् । तर, फेरि मन्त्री बन्ने चर्चा चुलिएको छ ।

यस्तोमा प्रतिनिधिसभा सदस्यसमेत रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसद पुन स्वतन्त्र नभई रास्वपाको भएको र उनी अब मन्त्री बनेर सबैलाई थर्काउने बताएका छन् ।

उनलाई गत २१ फागुनको निर्वाचनमा म्याग्दीमा रास्वपाले समर्थन गरेको थियो ।

लामार : सुन्दरताले नायिका, विवेकले वैज्ञानिक

सन् १९३३ मा एक्स्टेसी नामक एउटा फिल्मले विश्वभर तहल्का मच्चायो। उक्त फिल्म त्यतिबेला बनेको थियो, जतिबेला समाज एक्स्टेसी जस्ता फिल्मसँग ‘कनेक्ट’ भइसकेको थिएन । तर यो फिल्मले त्यो समयका सबै सामाजिक सीमाहरू तोडिदियो । फिल्मको एक चर्चित दृश्यमा अभिनेत्री जंगलमा निर्वस्त्र दौडिन्छिन् र तालमा नग्न रूपमा पौडी खेल्छिन् । त्यस समय किङकङ जस्ता चलचित्रहरूले विश्वभर चर्चा पाइरहेका थिए। तर यही समयमा सार्वजनिक भएको यो विवादास्पद युरोपेली फिल्म मानिसहरूको कानेखुसी , पत्रिकाका हेडलाइन र सेन्सर विवादको केन्द्र बन्यो ।

यो विवादको केन्द्रमा थिइन्, हेडी लामार। अर्थात्, हेडभिग किश्लर।

किश्लर अस्ट्रियन अभिनेत्री थिइन्, जो पछि गएर हलिउडकी सबैभन्दा ग्ल्यामर स्टारमध्ये एक बनिन् ।

उनको एक्स्टेसी फिल्म विवादित बनेपछि यसको चर्चा झन् चुलियो । धेरै देशहरूले यो फिल्ममाथि प्रतिबन्ध लगाए, जसले मानिसहरूको जिज्ञासा अझ बढायो । युरोपभर गोप्य प्रदर्शन र लुकाइएका प्रतिहरूको चर्चा चल्न थाल्यो । भनिन्छ, तकालीन समयका इटालीका तानाशाह  मुसोलीनी यो फिल्मबाट यति प्रभावित भएका थिए कि उनले आफ्नो प्रतिलिपि कुनै मूल्यमा पनि बेच्न अस्वीकार गरेका थिए । 

केही समयपछि हलिउडको ध्यान किश्लरतर्फ गयो । लुइस बी. मेयर- जो मेट्रो गोल्डविन स्टुडियोका शक्तिशाली प्रमुख थिए, उनले किश्लरलाई ‘विश्वकै सबैभन्दा सुन्दर महिला’ का रुपमा चित्रित गर्यो । यही पहिचान नै उनको करिअरको महत्वपूर्ण मोड पनि बन्यो । तर उनको बाहिरी सौन्दर्यभित्र एक तेज, जिज्ञासु र दृढ व्यक्तित्व लुकेको थियो, जसलाई धेरैले बुझेनन् ।

त्यतिबेला किश्लर आफैं मजाक गर्दै भन्थिन्, ‘सुन्दर देखिनुको रहस्य भनेको त्यहीँ उभिने र मूर्ख जस्तो देखिने हो ।’ उनी अत्यन्त विश्लेषणात्मक सोच भएकी महिला थिइन् र विज्ञान तथा इन्जिनियरिङप्रति गहिरो रुचि राख्थिन् । अभिनयमा प्रवेश गर्नुअघि  नै उनले सैन्य प्रविधि र मेकानिकल प्रणालीहरूबारे अध्ययन गरिरहेकी थिइन् ।

किश्लरले एक्स्टेसीमा अभिनय गर्दागर्दै अस्ट्रियाका धनी उद्योगपति फ्रिडरिख म्यान्डलसँग विवाह गरिन्। म्यान्डल युरोपका ठूला हतियार निर्माता थिए र उनको कम्पनीले विभिन्न देशलाई सैन्य सामग्री आपूर्ति गर्थ्यो । उनको व्यापारिक सम्बन्ध जर्मनी र इटालीका उदाउँदा फासिस्ट शक्तिहरूसँग जोडिएको थियो ।

म्यान्डलले आयोजना गर्ने भव्य भोजहरूमा सैनिक अधिकारी, राजनीतिज्ञ र तानाशाही नेताहरू सहभागी हुन्थे । ती जमघटहरूमा मिसाइल, विमान प्रणाली र रेडियो नियन्त्रित हतियारबारे छलफल हुने गर्थ्यो । उनका ती कार्यक्रमहरुमा एडल्फ़ हिटलर र मुसोलीनी जस्ता शक्तिशाली नामहरू समेत सहभागी हुने गरेको बताइन्छ ।

ती कार्यक्रममा म्यान्डलका साथीहरूले मिसाइल र टर्पिडो सञ्चालन प्रणालीजस्ता अत्याधुनिक सैन्य प्रविधिबारे खुला रूपमा चर्चा गर्थे। र, किश्लर ती चर्चासँग केन्द्रीत रहन्थिन्। धेरैले उनलाई केवल सुन्दरी अभिनेत्री ठान्थे, तर वास्तवमा उनी ती सबै प्राविधिक जानकारी मनोयोगले आत्मसात गरिरहेकी थिइन् ।

किश्लर फासिवाद र नाजी विचारधाराप्रति गहिरो घृणा राख्थिन् । उनी स्वयं यहूदी भएकाले हिटलरको उदयले ल्याउने खतराबारे सचेत थिइन् । समयसँगै म्यान्डलसँगको वैवाहिक जीवन असह्य बन्दै गयो । म्यान्डल अत्यन्त नियन्त्रणकारी व्यक्ति थिए । भनिन्छ, उनले आफ्नी पत्नीलाई अभिनय गर्न समेत रोक्न खोजे ।

किश्लरका लागि महलभित्रको जीवन विलासिता कम र कैदजस्तो बढी थियो । किश्लर त्यो विवाह र राजनीतिक वातावरण दुवैबाट उम्किन चाहन्थिन् । अन्ततः सन् १९३७ मा उनी भागिन् । कथनअनुसार उनले आफ्नी नोकरानीलाई औषधि खुवाएर बेहोस बनाइन्, नोकरानीकै कपडा लगाइन् र रातको अन्धकारमा महलबाट भागिन् । गहनाहरू बेचेर पैसा जुटाउँदै उनी युरोप पार गरेर लन्डन पुगिन् । 

त्यसपछि सन् १९३८ मा नाजी जर्मनीले अस्ट्रियालाई कब्जा गर्दै ‘आनशलुस’ सम्पन्न गर्‍यो । म्यान्डलका कारखानाहरू नाजीहरूले नियन्त्रणमा लिए र युरोप युद्धतर्फ धकेलियो ।

लन्डन पुगेपछि किश्लरको जीवन फेरि बदलियो । त्यहीँ उनले मेयरलाई भेटिन्  । मेयरले उनलाई अमेरिका जान तथा एमजीएमसँग सम्झौता गर्न राजी गराए । अमेरिका जाने जहाज यात्रासँगै उनको नयाँ पहिचान बनाइयो । मेयरले उनलाई नयाँ नाम दिए- हेडी लामार।  र, यही नाम उनको पहिचान बन्यो। 

हलिउडले उनलाई खुलेर स्वागत गर्‍यो । उनको सौन्दर्य, रहस्यमय व्यक्तित्व र युरोपेली शैलीले दर्शकहरू मोहित भए । उनी क्लार्क गेबल, जुडी गारल्यान्ड, बब होप लगायतका ठूला कलाकारसँग फिल्ममा देखिन थालिन् । अल्जियर्स, साम्सन एन्ड डिलाइला, साम्सन र डिलाइला जस्ता फिल्महरूले उनलाई हलिउडको स्वर्ण युगकी महान् अभिनेत्रीका रूपमा स्थापित गर्‍यो । 

तर लामार आफूलाई केवल सुन्दरीको छविमा सीमित भएको महसुस गर्थिन् । हलिउड स्टुडियोहरूले उनको बुद्धिमत्तालाई भन्दा उनको सौन्दर्यलाई बढी प्राथमिकता दिए । अभिनयबाहेकको समयमा उनी वैज्ञानिक जर्नल पढ्ने, नयाँ आविष्कारका खाका बनाउने र तीनको घरमै प्रयोग गर्ने गर्थिन् ।

दोस्रो विश्वयुद्ध चर्किँदै जाँदा लामार नाजीविरुद्ध केही योगदान गर्न चाहन्थिन् । उनले विज्ञान र प्रविधिले युद्धको परिणाम बदल्न सक्छ भन्ने विश्वास गर्थिन् । म्यान्डलसँगको वैवाहिक जीवनमा सुनेका सैन्य प्रविधिका कुराहरूले उनलाई नयाँ सोचतर्फ प्रेरित गरिसकेको थियो।

सन् १९४२ मा, आफ्नो अभिनय करियरकै उत्कर्षमा रहँदा, लामारले संगीतकार जर्ज एन्थेलसँग मिलेर एउटा आविष्कार गरिन् । उनीहरूले ‘फ्रिक्वेन्सी हपिङ’ मा आधारित सञ्चार प्रणाली विकास गरे, जसमा रेडियो संकेत लगातार फरक फरक फ्रिक्वेन्सीमा परिवर्तन भइरहन्थ्यो ।

त्यतिबेलाको समयमा त्यो क्रान्तिकारी अवधारणा थियो । युद्दमा रेडियो नियन्त्रित टर्पिडोहरू त्यो समयमा शत्रुपक्षको सूचना प्रणाली जाम गर्ने प्रविधिको रुपमा प्रयोग हुन्थे । लामार र एन्थाइलले दोस्रो विश्वयुद्द लक्षित आविष्कार गरे। 

उनीहरूको अवधारणा स्वचालित पियानोमा प्रयोग हुने रोल प्रणालीबाट प्रेरित थियो । जसरी पियानो रोलले संगीतका नोटहरू परिवर्तन गर्छ, त्यसैगरी लामारले रेडियो फ्रिक्वेन्सी परिवर्तन गर्ने प्रणाली कल्पना गरेकी थिइन् । उनीहरूले ‘सिक्रेट कम्युनिकेशन सिस्टम’ नाममा पेटेन्टसमेत लिए । 

दोस्रो विश्वयुद्धमा अमेरिकी नौसेनाले तत्काल यसको प्रयोग नगरे पनि यो प्रविधि समयभन्दा धेरै अगाडि थियो । पछि यही अवधारणाले आधुनिक वायरलेस सञ्चार प्रणालीको आधार निर्माण गर्‍यो । आज प्रयोग हुने वाई-फाई, ब्लुटुथ, जी-पी-एस र सुरक्षित सैन्य सञ्चार प्रणालीहरूमा यही ‘स्प्रेड-स्पेक्ट्रम’ प्रविधिको सिद्धान्त प्रयोग हुन्छ । संसारकै चर्चित हलिउड अभिनेत्रीमध्ये एक महिलाले आधुनिक सञ्चार प्रविधिको जग बसालिन् भन्ने कुरा आफैंमा अविश्वसनीय लाग्छ ।

लामारको जीवनकथाले सौन्दर्य, बुद्धिमत्ता र प्रसिद्धिबारे समाजका धारणालाई चुनौती दिन्छ । मानिसहरूले उनलाई केवल पर्दाकी सुन्दरी ठाने, तर त्यो चम्किलो अनुहारभित्र विज्ञान, राजनीति र प्रविधिमा गहिरो रुचि पनि थियो ।

उनी फासिवादबाट भागिन्, हलिउड जितिन्, युद्धकालीन प्रविधिमा योगदान गरिन् र आधुनिक संसारको सञ्चार प्रणालीको जग बसालिन् । एक व्यक्तिको जीवनमा चलचित्र, युद्ध, आविष्कार र प्रसिद्धि यति अनौठो ढंगले जोडिएको विरलै भेटिन्छ ।

निरो : सत्ताको मदमा राक्षस बनेको क्रूर तानाशाह

त्यो रोमन साम्राज्यको सुन्दर र शक्तिशाली युग थियो। तर त्यही युगले एक त्यस्तो राजा पनि देख्यो जसको नामले आज पनि मानिसहरू थरथर काम्छन्। त्यो नाम हो निरो।

निरोको पूरा नाम निरो क्लाउडियस सिजर अगस्टस जर्म्यानिकस हो । निरो रोमन साम्राज्यको पाँचौं र अन्तिम जुलियो क्लाउडियन राजा  थिए। सन् ५४ देखि सन् ६८ सम्म उनले शासन गरे। उनको शासनकाललाई इतिहासले ‘नेरोनियन अत्याचार’ को युग भनेर चिन्छ। 

के साँच्चै निरो त्यति नै क्रूर थिए ? वा इतिहासले उनलाई त्यसरी लेख्यो?  यस प्रश्नको जवाफका लागि रोमको राजनीतिको ऐतिहासिक गहिराइमा जान जरुरि छ। यो कथा हो निरोको जो  शक्तिको मदमा चुरु हुँदै गयो।  र एक युवा सम्राटको मानसिकतामा जो बिस्तारै अत्याचारी बन्दै गयो।

निरोको जन्म सन् ३७ डिसेम्बर १५ मा भएको थियो। उनको जन्मस्थान एन्टियम थियो। एन्टियम रोम शहरभन्दा करिब ५५ किलोमिटर दक्षिणमा रहेको एउटा सुन्दर तटीय सहर हो ।

जन्मको समयमा  निरोको नाम लुसियस डोमिसियस एनोबार्बस थियो। उनको परिवार कुनै साधारण परिवार थिएन। उनी सम्राट अगस्टसको वंशज थिए। उनका बुबा ग्नेयस डोमिसियस एनोबार्बस एक क्रूर र भ्रष्ट व्यक्ति थिए। 

सुटोनियसले लेखेका छन्, ‘निरोको जीनमा क्रूरताको बीज पहिल्यै थियो। त्यो बीज लिएर र सुन्दर रोममा गुनाहको दुनियाँ बनाउन निरो आए।’ 

उनकी आमा एग्रिपिना द यङ्गर थिइन्। एग्रिपिना अत्यन्त महत्वाकांक्षी र शक्तिशाली महिला थिइन्। उनी सम्राट क्यालिगुलाकी बहिनी,सम्राट क्लाउडियसकी भतिजी र पत्नी पनि थिइन्। उनको रगतमा शक्तिको लालसा थियो। 

निरो मात्र तीन वर्षको थिए। जब उनका बुबाको मृत्यु भयो। त्यसको दुई वर्षपछि सम्राट क्यालिगुलाको हत्या भयो। र उनकी आमा एग्रिपिनालाई पनि निर्वासनमा पठाइयो। सानो निरो आफ्नी काकी लिपिडासँग बस्न पुगे। त्यहाँ उनको पालनपोषण भयो। तर नियतिले अर्कै लेखेको थियो।

सन् ४१ मा सम्राट क्लाउडियस सत्तामा आए। उनले एग्रिपिनालाई निर्वासनबाट फिर्ता बोलाए। एग्रिपिना फर्किइन्। उनी शक्तिको लागि फर्किइन्। उनले आफ्नो दोस्रो पति सम्राट क्लाउडियसको विष प्रयोग गरेर हत्या गराइन्। 

त्यसपछि उनले आफ्नो काका सम्राट क्लाउडियसलाई प्रलोभन दिइन्। इतिहासकारहरूले लेखेका छन् कि उनी आफ्नो काका क्लाउडियससँग अवैध सम्बन्धमा पनि थिइन्।

सन् ४९ मा क्लाउडियसले एग्रिपिनासँग विवाह गरे। त्यो विवाह रोमको राजनीतिको एक ठूलो घटना थियो। एग्रिपिना रोमको पहिलो महिला बनिन्। उनी आफ्नो पतिको छेउमा बसिन्। उनले सिक्कामा आफ्नो तस्बिर छापिन्।उनले विदेशी राजदूतहरूसँग भेट बढाइन्। यो सबै रोमको परम्पराको विरुद्ध थियो। 

एग्रिपिनाले क्लाउडियसलाई आफ्नो छोरा निरोलाई उत्तराधिकारी बनाउन मनाइन्। यसको अर्थ सम्राटको आफ्नै जेठो छोरा ब्रिटानिकसको रोलक्रम मिच्नु थियो।

एग्रिपिनाले हरेक अवरोध हटाउँदै गइन् । आफ्ना विरोधीहरूलाई एकपछि अर्को हत्या गराइन्। सन् ५३ मा निरोले क्लाउडियसकी छोरी अक्टाभियासँग विवाह गरे। त्यो विवाह पनि एग्रिपिनाकै योजना थियो।अब  केवल क्लाउडियस बीचको अवरोध थियो। सन् ५४ मा क्लाउडियसको मृत्यु भयो। 

इतिहासकारहरूका अनुसार उनलाई विष दिइएको थियो। ‘विष च्याउमा थियो। र त्यो च्याउ एग्रिपिनाले नै दिएको मानिन्छ। क्लाउडियसको मृत्युपछि एग्रिपिनाले तुरुन्तै काम गरिन्। उनले प्रिटोरियन गार्डको सहयोग प्राप्त गरिन्। गार्डले निरोलाई सम्राट घोषित गर्यो।

 निरो मात्र सोह्र वर्षको थिए ।  एक किशोर सम्राट, जो पूर्ण रूपमा आफ्नी आमाको नियन्त्रणमा थियो।

निरोले आफ्नो शासनको सुरुवात राम्रोसँग गरे। इतिहासकारहरूले यसलाई ‘क्विनक्वेनियम नेरोनिस’ अर्थात् ‘निरोको पाँच वर्षे सुनको युग’ भनेर भनिन्छ । 

त्यो समयमा निरो एक कुशल  शासक मात्र थिएनन्। उनले राम्रो सल्लाहकार पनि छानेका थिए। उनको सलाहकारमा दुई जना व्यक्ति थिए। जसले उनलाई उचित सलाह दिन्थे।  एक थिए सेक्स्टस अफ्रानियस बुरस — प्रिटोरियन गार्डको प्रिफेक्टबाट र अर्का थिए लुसियस एनियस सेनेका, निरोका गुरु र एक स्टोइक दार्शनिक। यी दुईले मिलेर साम्राज्यलाई स्थिर राखे।

निरोले केही राम्रा काम पनि गरे। उनले गुप्त मुद्दाहरूमा ज्यानको सजा बन्द गरे। दासहरूलाई पनि आफ्ना मालिक विरुद्ध उजुरी ल्याउने अधिकार दिए। कर घटाए, सिनेटलाई अलि बढी स्वतन्त्रता दिए, र रक्तपातपूर्ण ग्लाडियटर खेलहरूको सट्टा कविता प्रतियोगिता र संगीत कार्यक्रमहरू सुरु गरे। 

इतिहासकार टासिटसले लेखेका छन् ‘त्यस समयमा निरोले एउटा यस्तो सपना देखेको थिए, उनी कलाकार बन्न चाहन्थे, गीत गाउन चाहन्थे, पियानो बजाउन चाहन्थे, कविता लेख्न चाहन्थे। तर एक सम्राटको लागि यो सपना देख्नु पनि अपराध थियो। रोमन समाजमा एक सम्राटलाई रणनीतिकार बन्नुपर्छ, योद्धा बन्नुपर्छ, प्रशासक बन्नुपर्छ’ 

निरोको पतनको सुरुवात
निरो बिस्तारै बदलिदै गए । उनि आफ्नी आमाको नियन्त्रणबाट बाहिर आउन थाल्यो। सेनेका र बुरसले उसलाई सिकाएका थिए: ‘तिमी सम्राट हौ, तिमी आफैंले निर्णय गर।’ एग्रिपिनालाई यो मन परेन। उनले आफ्नो प्रभाव ल्याउन खोजिन्।  तर निरो तयार थिएन। 

आमा र छोराको सम्बन्ध चिसियो। त्यसपछि एग्रिपिनाले ब्रिटानिकसलाई समर्थन गर्न थालिन्। ब्रिटानिकस वैध उत्तराधिकारी थियो। र सिनेटलाई पनि ब्रिटानिकस मन परेको थियो। निरोले यो देखे, उनी डराए, र उनले आफ्नो सौतेला भाइलाई मार्ने योजना बनाए।

सन् ५५ को फेब्रुअरीमा ब्रिटानिकसको मृत्यु भयो। उनी मात्र चौध वर्षका थिए। उनलाई भोजमा विष दिइएको थियो। 

इतिहासकारहरूले लेखेका छन्, निरोले नै उक्त विष मिलाएको थियो। ब्रिटानिकसको मृत्युपछि शोकमा परेनन्। बरु उनले आफ्नो सबै ध्यान कलामा लगाए। त्यो पहिलो हत्या थियो। तर अन्तिम थिएन। एक पटक रगत बग्न थाल्यो। 

एग्रिपिनाको आमाको हत्या
एग्रिपिनाले ब्रिटानिकसको मृत्युपछि पनि आफ्नो प्रभाव राख्न खोजिन्। तर निरो आफ्नी आमासँग दिक्क भइसकेको थियो। उनले एग्रिपिनालाई दरबारबाट बाहिर निकाल्न खोजे। तर एग्रिपिना हार मान्ने महिला थिइनन्। उनले आफ्नो सौतेनी छोरालाई पुनः नियन्त्रण गर्ने योजना बनाइन्। निरोलाई यो कुरा पछ्या भएन।  उनि अब आफ्नै आमालाई मार्ने योजना बनाउन लागे। 

सन् ५९ मा निरोले एग्रिपिनालाई नाउमा भोजको निमन्त्रणा पठाए। एग्रिपिना आइन्। उनले रमाइलो गरिन्।  तर त्यो नाउ सामान्य थिएन। निरोले नाउ यसरी बनाएको थियो कि बीच समुद्रमा त्यो भत्किन्छ। एग्रिपिनालाई लाग्यो कि छोराले उनको सम्मान गर्दैछ। तर यो मृत्युको जाल भएको उनलाई अनुमान नै भएन । 

नाउ बीच समुद्रमा पुग्यो। अचानक छाना खस्यो, डुङ्गा भत्कियो। एग्रिपिना समुद्रमा खसिन्।  तर उनी पौडिन्थिन् र किनारामा पुगिन्। त्यहाँ उनकी एक सेविकाले उनलाई सहयोग गरिन्।

निरोलाई खबर आयो आमा बाँचेकी छन्। ऊ झस्कियो। त्यसपछि उसले आफ्ना मानिसहरू पठायो। ती मानिसहरू एग्रिपिनाको भिल्लामा पुगे। एग्रिपिना आफ्नै ओछ्यानमा थिइन्। उनले मृत्यु आउँदै गरेको देखिन्। र आफ्नो पेट देखाउँदै कराइन्: ‘यहाँ प्रहार गर — यही पेटले निरोलाई जन्म दियो।’  त्यसपछि उनको हत्या भयो।

निरोले आफ्नी आमाको मृत्यु सुनेपछि के गरे भन्नेबारे ? इतिहासकारहरू लेख्छन्, ‘उनले मदिरा पिउन थाले, संगीत सुन्न थाले, र सिनेटलाई एउटा पत्र लेखे। त्यो पत्रमा उनले आफ्नी आमाले नै सम्राट विरुद्ध षड्यन्त्र गरेको आरोप लगाए। सिनेटले निरोलाई सलाम गर्यो, तर मानिसहरू डराए: सम्राटले आफ्नै आमालाई मार्यो, उसले अरू के-के गर्ला?’

दुई पत्नीको मृत्यु
निरोले आफ्नी पत्नी अक्टाभियालाई कहिल्यै मन पराएनन्। त्यो विवाह आमाको योजना थियो। निरोको प्रेम अर्कै थियो। पोपिया सबिना नामकी एक सुन्दर र महत्वाकांक्षी स्त्री,जसमा निरो मोहित भएका थिए। उनले अक्टाभियालाई सम्बन्धविच्छेद गर्ने निर्णय गरे। तर अक्टाभियालाई जनताले माया गर्थे। र उनको सम्बन्धविच्छेदको विरोध भयो।

निरोले अर्को बाटो रोजे उनले अक्टाभियालाई व्यभिचारको झूटो आरोप लगाए। उनलाई निर्वासनमा पठाइयो। र त्यही निर्वासनमा उनको हत्या गरियो। त्यो सन् ६२ को कुरा थियो। अक्टाभियाको मृत्युपछि निरोले पोपियासँग विवाह गरे।

पोपिया गर्भवती थिइन्। र निरो खुसी थिए । तर एक दिन झगडा भयो। पोपियाले निरोलाई गाली गरेकी थिइन् , ‘तिमी सधैं ती सडकमा रात बिताउँछौ,तिमी मलाई बेवास्ता गर्छौ।’  

यत्ति सुनेपछि निरो रिसाए। र उनले पोपियालाई लात हाने। त्यो लात उनको पेटमा पर्यो र पोपियाको  त्यही मृत्यु भयो। सन् ६५ को कुरा थियो। यसरी निरोले आफ्नी दोस्रो पत्नीलाई पनि मारे ।

तर इतिहासकारहरूले एक कुरा खुलासा गरेका छन्, ‘यो कथा सत्य हुन सक्दैन, किनभने यस्तै कथा अरू अत्याचारी सम्राटको बारेमा पनि लेखिएको छ। तर जनता त्यो कथामा विश्वास गर्थे। र निरोको छवि अझ धमिलो भयो।’

रोम शहर जलिरहँदा
सन् ६४ को जुलाई १८ मा रोमको मुटु सर्कस म्याक्सिमस नजिकै आगो लाग्यो। छ दिन, सात रात आगोले रोमलाई निल्यो। कुल चौध जिल्ला मध्ये तीन पूर्ण रूपमा जलेर खरानी भए। सात जिल्लाका धेरै भाग जलेर नष्ट भए। केवल चार जिल्ला मात्र बच्यो । हजारौं मानिस मरे। लाखौं निरीह बने। रोमको गर्व, यसको मन्दिर, यसको सभाघर, यसको पुरानो इतिहास सबैआगोले सखाप पार्यो ।

त्यस बेला निरो कहाँ थिए ? इतिहासकार टासिटसले लेखेका छन्,निरो रोमबाट ३५ माइल टाढा एन्टियममा आफ्नो भिल्लामा थिए। उनले आगोको खबर सुने। तुरुन्तै रोम फर्किए। र राहत कार्यको नेतृत्व गरे।

उनले आफ्नै बगैंचा खोले। त्यहाँ हजारौं घरबारविहीनले आश्रय पाए। र अन्नको व्यवस्था गरे। तर जनता परिवर्तन भइसकेका थिए । उनीहरूले सोच्न थाले: यो सम्राटले नै आगो लगाएको हो। किनभने उनि नयाँ सहर र नयाँ दरबार बनाउन चाहन्थे। इतिहासले ‘डोमस अरिया’ भनेर चिनिन्थ्यो। त्यो दरबार यति ठूलो थियो कि यसले रोमको एक तिहाइ भाग ओगट्ने थियो। यसको पर्खालमा सुन, छानामा हात्तीको दाँत थियो। यसको एउटा गोलाकार कोठा दिनरात घुम्थ्यो। र फूलको पानी छर्किन्थ्यो। यो दरबार आफैंमा एउटा चमत्कार थियो। तर यो बनाउनको लागि मानिसहरूको रगत चुहियो र उनीहरूको घर डढ्यो।

निरोले आफूमाथिको दोष हटाउन एउटा बलि चाह्यो। उनले क्रिस्चियनहरूलाई रोजे। त्यो समयमा क्रिस्चियनहरू रोममा अल्पसंख्यक थिए। र उनीहरूलाई रहस्यमय र भ्रष्ट ठानिन्थ्यो। निरोले आदेश दिए। हजारौं क्रिस्चियन पक्राउ परे। र क्रूर यातना दिइयो। उनीहरुलाई क्रसमा टाँगेर जलाइयो।

निरोले यी दृश्यहरू आफ्नो बगैंचामा रात्रिभोजको रूपमा आयोजना गरे। उनी आनन्द लिन्थे। हाँस्थे, गीत गाउँथे। यो क्रूरता यति धेरै थियो कि क्रिस्चियनहरूले निरोलाई ‘द एन्टिक्राइस्ट’ भन्न थाले। र यो नाम उनको मृत्युपछि पनि टाँसियो।

सन् ६५ मा एउटा षड्यन्त्र भयो। जसको नेतृत्व गयस क्यालपर्नियस पिसोले गरे। योजना सरल थियो। निरोलाई मार्ने र पिसोलाई सम्राट बनाउने। षड्यन्त्रकारीहरूमा सेनेटर, सेना अधिकारी, दार्शनिक, कवि — यहाँसम्म कि सेनेकाका भतिजा कवि लुकन पनि थिए। तर योजना असफल भयो। एक व्यक्तिले सबै कुरा बताइदियो। 

निरो रिसाए र उनले आफ्नो क्रूर पाटो देखाए। त्यसपछि पिसोले आत्महत्या गरे।  सेनेकालाई पनि मृत्युदण्ड दिइयो। लुकनलाई पनि त्यही आदेश दिइयो (उनले आफ्नो कविता सुनाउँदै मरे)। 

कुल ४१ जनामा १८ जनाको मृत्यु भयो। यो घटनापछि निरो पूर्ण रूपमा परिवर्तन भए। उनले कसैलाई पनि विश्वास गरेनन्। उनी बढी एकान्तप्रिय भए।

सन् ६६ मा निरोले ग्रीसको यात्रा गरे। त्यो यात्रा पनि अद्भुत थियो। उनी सेनाको नेतृत्वमा गएनन्, युद्ध लड्न गएनन्। उनी कलाकार बनेर गए। 

उनी ग्रीक खेलहरूमा भाग लिन चाहन्थे। उनले रथ दौडमा भाग लिए (तर रथबाट लडे), अर्को प्रतियोगितामा पियानो बजाए (तर प्रतिस्पर्धीहरूभन्दा कमजोर थिए)। 

तर उनले सबै प्रतियोगिता जिते। कसरी? किनकि निर्णायकहरू डराउँथे। यदि उनीहरूले निरोलाई हराए भने उनीहरू मर्ने थिए। इतिहासले लेखेको छ कि निरोले १८०८ वटा प्राइज जिते। 

यात्राको क्रममा उनले एउटा ऐतिहासिक घोषणा गरे। उनले ग्रीसलाई स्वतन्त्रता घोषित गरे। र कर माफ गरे। ग्रीक जनता खुसी भए। उनीहरूले निरोलाई देवता माने। तर रोममा अर्कै दृश्य थियो। निरो अनुपस्थित थिए। र साम्राज्य अस्तव्यस्त भइरहेको थियो।

सन् ६८ मा गाउल (आधुनिक फ्रान्स) मा विद्रोह भयो। जसको नेतृत्व गयस जुलियस विन्डेक्सले गरे। उनले घोषणा गरे कि ‘निरो अब सम्राट होइन; सिनेटले नयाँ सम्राट रोजोस्।’ स्पेनको गभर्नर गाल्बाले पनि समर्थन गरे। 

सेनाहरू विभाजित भए। निरोले यो सुनेर हाँसे र भने: ‘म एउटा गीत गाउनेछु, र सबै शान्त हुनेछन्।’ तर गीतले काम गरेन। विद्रोह बढ्यो, प्रिटोरियन गार्डले पनि साथ छोड्यो, र सिनेटले निरोलाई राष्ट्रको शत्रु घोषित गरी मृत्युदण्ड दियो। 

निरो रोमबाट भागेर एउटा सानो भिल्लामा लुके। त्यहाँ चारैतिर सिपाहीहरू देखेपछि उनलाई थाहा भयो: अन्त्य भयो। उनले आफ्नो सेवकलाई आफ्नो छुरा दिए र भने,‘मलाई मर्नु छ,कसरी मर्ने?’ त्यसपछि उनले आफ्नो घाँटीमा छुराले हाने; यसमा उनलाई सेवकले सहयोग गर्यो।

निरोको मृत्यु हुँदा उनी मात्र तीस वर्षका थिए। इतिहासकार सुटोनियसले उनको अन्तिम वाक्य लेखेका छन्: ‘क्वालिस आर्टिफेक्स पेरेओ’ अर्थात् ‘कस्तो महान् कलाकार मर्दै छु।’

निरो मरेपछि गृहयुद्ध भयो। एक वर्षभित्र चार सम्राट परिवर्तन भए। ती मध्ये एकले नयाँ राजवंश सुरु गरे। फ्लाभियन राजवंश। यस राजवंशको लागि निरोलाई नराम्रो देखाउनु जरुरी थियो। ताकि नयाँ सम्राट राम्रो देखियोस्। 

त्यसैले इतिहासकारहरूले निरोलाई अत्याचारी बनाएर उनको छवि निर्माण गरे। तर आजको अनुसन्धानले एउटा सत्य बताउँछ। निरो सायद क्रूर थिए। तर उनले रोमलाई आगो लगाएको थिएनन्। किनभने त्यो बेला उनि ३५ माइल टाढा थिए । उसले पोपियालाई लात हानेको पनि शंकास्पद छ। किनभने त्यो कथा पहिले नै अन्य सम्राटको बारेमा लेखिएको थियो। 

यति भन्न सकिन्छ। निरो एक असाधारण व्यक्तित्व थिए। उनी कलाकार थिए। उनि स्वप्निल र कल्पनाशील व्यक्ति थिए। उनीसँग  शक्ति थियो, र त्यही शक्तिले उनलाई विनाशको बाटोमा धकेल्यो।

निरोको मृत्युपछि एक अद्भुत कुरा भयो: जनताले उनको चिहानमा फूल चढाउन थाले। उनीहरूले निरोलाई सम्झिए र अफवाह फैलाए  ‘निरो मरेको छैन। ऊ पूर्वमा लुकेको छ। ऊ एक दिन फर्केर आउनेछ।’ यो अफवाह तीन सय वर्षसम्म जीवित रह्यो। तीन सय वर्षमा धेरै सम्राट आए। गए। तर मानिसहरू निरोलाई बिर्सन सकेनन्। 

किनकि उनि एक चेतावनी थिए। शक्तिले व्यक्तिलाई कसरी विकृत बनाउँछ। कसरी एक साधारण युवा राजा पूर्ण राक्षसमा परिणत हुन्छ। रोम साम्राज्यको इतिहासले हामीलाई यही सिकाउँछ।

सूर्यको ‘कोरोनल होल’ सक्रिय: पृथ्वीमा भू-चुम्बकीय आँधी र नर्दर्न लाइट्सको सम्भावना

एजेन्सी। सूर्यको वायुमण्डलमा बनेको विशाल ‘कोरोनल होल’ बाट निस्किएको तीव्र सौर्य हावाको प्रवाहले आज रातिदेखि सप्ताहन्तसम्म अर्थात् मे १५ देखि मे १७ सम्म पृथ्वीमा भू-चुम्बकीय आँधी उत्पन्न गराउन सक्ने वैज्ञानिकहरूले बताएका छन्। यस घटनाले पृथ्वीको चुम्बकीय क्षेत्रमा अस्थायी तर उल्लेखनीय प्रभाव पार्न सक्ने भएकाले वैज्ञानिक समुदायले यसलाई नजिकबाट निगरानी गरिरहेको छ।

अमेरिकी राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासन ‘नोआ’ का स्पेस वेदर प्रिडिक्सन सेन्टरका अनुसार आगामी केही रातहरूमा, विशेषगरी राति ११ बजेदेखि बिहान २ बजेसम्म, भू-चुम्बकीय गतिविधि सबैभन्दा तीव्र हुने अनुमान गरिएको छ। यस अवधिमा सामान्य स्तरको जी१ श्रेणीको भू-चुम्बकीय आँधी उत्पन्न हुन सक्छ। जसलाई स्पेस वेदरका हिसाबले हल्का तर स्पष्ट प्रभाव देखिने अवस्था मानिन्छ।

तीव्र सौर्य हावाले पृथ्वीको चुम्बकीय क्षेत्रमा लगातार दबाब सिर्जना गर्ने भएकाले यसको प्रभाव मे १७ सम्म जारी रहन सक्ने सम्भावना पनि वैज्ञानिकहरूले औँल्याएका छन्। यस्तो अवस्थामा पृथ्वीको माथिल्लो वायुमण्डलमा रहेका कणहरू उत्तेजित हुन्छन्। जसको परिणामस्वरूप सुन्दर रङ्गीन प्रकाशहरूको झिलमिलाहट देखिने ‘अरोरा’ वा ‘नर्दर्न लाइट्स’ उत्पन्न हुन्छ।

जी१ स्तरको भू-चुम्बकीय आँधीका बेला अरोरा सामान्यतया ध्रुवीय क्षेत्रहरूमा मात्र सीमित नभई अपेक्षाकृत धेरै दक्षिणतर्फसम्म पनि देखिन सक्छ। यदि मौसम र आकाशीय अवस्था अनुकूल भयो भने अमेरिकाको अलास्का, नर्थ डकोटा, मिनेसोटा, विस्कन्सिन, मिशिगन र मेन जस्ता उत्तरी राज्यहरूमा नर्दर्न लाइट्स देखिने सम्भावना रहेको छ। कतिपय अवस्थामा त अझ दक्षिणी क्षेत्रहरूमा समेत हल्का अरोराको झलक देखिन सक्छ।

तर वैज्ञानिकहरूले यस खगोलीय घटनालाई अत्यन्तै अनिश्चित प्रकृतिको भएको स्पष्ट पारेका छन्। अरोराको दृश्यता केवल सौर्य गतिविधिमा मात्र होइन, बादलको अवस्था, प्रकाश प्रदूषण, रातको अन्धकारपन र पृथ्वीको चुम्बकीय क्षेत्रले सौर्य कणहरूलाई कसरी प्रतिक्रिया दिन्छ भन्ने कुरामा पनि निर्भर हुन्छ। त्यसैले शक्तिशाली भू-चुम्बकीय आँधी भए पनि अरोरा देखिन्छ नै भन्ने कुनै निश्चितता हुँदैन।

aurora_map_FORECAST_N_2026-05-15_0000 (1).mp4 [video-to-gif output image]

तस्वीर स्रोत नासा 

विशेषज्ञहरूले स्पष्ट आकाश भएको, शहरको उज्यालोबाट टाढा रहेको अँध्यारो स्थानमा गएर उत्तर दिशातर्फ ध्यानपूर्वक हेर्न सुझाव दिएका छन्। यस्तो अवस्थामा आँखाले नदेखिने कमजोर अरोरालाई समेत स्मार्टफोन क्यामेराले सजिलै कैद गर्न सक्छ, किनभने आधुनिक क्यामेराहरू प्रकाशको अत्यन्त सूक्ष्म परिवर्तन पनि रेकर्ड गर्न सक्षम हुन्छन्।

स्पेस वेदर अध्ययन गर्ने वैज्ञानिकहरूका अनुसार सौर्य गतिविधि बढ्ने र घट्ने चक्र निरन्तर चलिरहन्छ, जसलाई ‘सोलर साइकिल’ भनिन्छ। यस चक्रको उच्च चरणमा यस्ता कोरोनल होल, सौर्य फ्लेयर र सौर्य आँधीहरू बढी देखिन्छन्। यिनै घटनाहरूले पृथ्वीको चुम्बकीय प्रणालीमा अस्थायी असन्तुलन ल्याउन सक्छन्।  जसले अरोरा जस्ता दृश्यात्मक प्रभावहरू उत्पन्न गर्छ।

पछिल्ला वर्षहरूमा प्रविधिको विकाससँगै यस्ता घटनाहरूको पूर्वानुमान अझ सटीक हुँदै गएको छ। वैज्ञानिकहरूले उपग्रह र अन्तरिक्षमा रहेका सेन्सरहरूको मद्दतले सौर्य हावाको गति, घनत्व र दिशा लगातार मापन गरिरहेका छन्, जसका आधारमा भू-चुम्बकीय आँधीको सम्भावना पहिले नै अनुमान गर्न सकिन्छ।

स्पेस वेदरसम्बन्धी अद्यावधिक जानकारीका लागि विभिन्न मोबाइल एप्स पनि प्रयोग गर्न सकिन्छ। ‘माइ अरोरा फोरकास्ट एन्ड अलर्ट्स’ तथा ‘स्पेस वेदर लाइभ’ जस्ता एपहरूले प्रयोगकर्तालाई आफ्नो स्थान अनुसार अरोरा देखिने सम्भावना, भू-चुम्बकीय सूचकांक र वास्तविक समयको अवस्था जानकारी गराउँछन्।

यसरी हेर्दा, सौर्य हावाबाट उत्पन्न हुने यस्ता घटनाहरू केवल वैज्ञानिक अध्ययनको विषय मात्र होइनन्, बरु पृथ्वी र सूर्यबीचको गहिरो सम्बन्धको एक दृश्यात्मक झलक पनि हुन्, जसले मानवलाई ब्रह्माण्डको विशालता र यसको निरन्तर गतिशीलताको अनुभूति गराउँछ।

इबोला आतङ्क : ६५ जनाको मृत्यु

एजेन्सी। कंगो प्रजातान्त्रिक गणराज्य (डीआर कंगो)को पूर्वी इतुरी प्रान्तमा इबोलाको नयाँ प्रकोप फैलिएको छ । अफ्रिकाको प्रमुख स्वास्थ्य निकाय रोग नियन्त्रण तथा रोकथामका लागि अफ्रिका केन्द्र (सीडीसी अफ्रिका)ले शुक्रबार इबोला संक्रमणको प्रकोप घोषणा गर्दै हालसम्म २४६ संक्रमित फेला परेको र कम्तीमा ६५ जनाको मृत्यु भएको जनाएको हो ।

संक्रमण विशेषगरी सुनखानीका लागि परिचित मोङ्गवालु र र्वामपारा क्षेत्रमा तीव्र रूपमा फैलिएको बताइएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार संक्रमण सीमावर्ती क्षेत्रमा समेत फैलिन सक्ने उच्च जोखिम देखिएकाले निगरानी तथा नियन्त्रण प्रयास तीव्र बनाइएको छ ।

सीडीसी अफ्रिकाले डीआर कंगो, युगान्डा, दक्षिण सुडान तथा अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग संयुक्त बैठक बोलाएको छ । बैठकमा सीमा क्षेत्रको निगरानी, आपतकालीन स्वास्थ्य प्रतिक्रिया र संक्रमण रोकथामका उपायबारे छलफल हुने जनाइएको छ ।

राजधानी किन्शासास्थित ‘इन्स्टिट्युट नेसनल डे रिसर्च बायोमेडिकल’ (आईएनआरबी)मा गरिएको प्रारम्भिक परीक्षणमा जाँच गरिएका २० नमुनामध्ये १३ वटामा इबोला भाइरस पुष्टि भएको छ । यी परीक्षण डीआर कंगोको स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य संस्थासँगको समन्वयमा गरिएको बताइएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म मृत्यु भएका ६५ जनामध्ये चार जनामा प्रयोगशालाबाट इबोला पुष्टि भएको छ भने बाँकीमा पनि इबोलासँग मिल्दोजुल्दो लक्षण देखिएको छ ।

इटुरी प्रान्तको राजधानी बुनियामा समेत थप शंकास्पद संक्रमित भेटिएका छन् । ती नमुनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

डीआर कंगो सरकारले हालसम्म राष्ट्रिय आपतकाल घोषणा नगरे पनि सरकारी अधिकारीहरूले पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरेका छन् ।

इबोला भाइरस पहिलोपटक सन् १९७६ मा हालको डीआर कंगोमै पत्ता लागेको थियो । वैज्ञानिकहरूका अनुसार यो भाइरस चमेरोबाट मानिसमा सरेको हुनसक्ने विश्वास गरिन्छ । अहिले देखिएको संक्रमण देशमा पुष्टि भएको १७औँ इबोला प्रकोप हो ।

इबोला संक्रमित व्यक्तिको शरीरबाट निस्किने तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुँदा फैलिने गर्छ । यसले अत्यधिक रक्तस्राव, अंग फेल हुने समस्या तथा गम्भीर शारीरिक जटिलता निम्त्याउन सक्छ ।

पछिल्ला ५० वर्षमा अफ्रिकाका विभिन्न देशहरूमा इबोलाबाट करिब ५० हजार मानिसको मृत्यु भइसकेको छ । डीआर कंगोको सबैभन्दा घातक इबोला प्रकोप सन् २०१८ देखि २०२० बीच भएको थियो, जसमा करिब २ हजार ३०० जनाको मृत्यु भएको थियो ।

त्यसबेला पूर्वी क्षेत्रमा हिंसा, अविश्वास र कमजोर स्वास्थ्य सेवाका कारण महामारी नियन्त्रण गर्न ठूलो चुनौती सामना गर्नुपरेको थियो । गत वर्ष पनि देशको मध्य क्षेत्रमा फैलिएको अर्को इबोला प्रकोपमा ४५ जनाको मृत्यु भएको थियो ।

 

क्युआर कोड स्क्यान गर्दै हुनुहुन्छ ? सावधान!!!

काठमाडौं। रेस्टुरेन्ट र क्याफेहरूमा पछिल्लो समय डिजिटल मेनुको प्रयोग तीव्र रूपमा बढेको छ । ग्राहकहरूले टेबलमा राखिएको क्युआर कोड स्क्यान गरेर मोबाइलमै मेनु हेर्ने चलन सामान्य बन्दै गएको छ ।

यद्यपि, यो प्रविधि सहज र छिटो भए पनि साइबर सुरक्षाको दृष्टिले जोखिमपूर्ण हुन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । हालै भारतमा एक महिलाले रेस्टुरेन्टमा क्युआर कोड स्क्यान गरेर मेनु हेरेपछि अज्ञात नम्बरबाट लगातार फोन र म्यासेज आउन थालेको घटना सार्वजनिक भएको छ ।

अनुसन्धानका क्रममा उनको मोबाइल नम्बर रेस्टुरेन्ट स्टाफसम्म पुगेको र त्यहीबाट दुरुपयोग भएको खुलेको बताइएको छ ।

यो घटना सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि क्युआर आधारित डिजिटल मेनुको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ । साइबर विशेषज्ञहरूका अनुसार धेरै प्रयोगकर्ताले क्युआर कोड स्क्यान गर्दा नपढीकन अनुमति दिने वा असुरक्षित वेबसाइटमा व्यक्तिगत जानकारी भर्ने गर्छन् । यसरी मोबाइल नम्बर, इमेल आईडी, लोकेशन तथा अन्य डेटा गलत व्यक्तिको हातमा पुग्न सक्ने जोखिम हुन्छ ।

विशेषज्ञहरूका अनुसार धेरै रेस्टुरेन्टहरूले ‘थर्ड पार्टी’ प्लेटफर्ममार्फत डिजिटल मेनु सञ्चालन गर्छन् । क्युआर कोड स्क्यान गरेपछि प्रयोगकर्ताबाट मोबाइल नम्बर, इमेल, लोकेशन र डिभाइससम्बन्धी जानकारी माग्न सकिन्छ । यदि ती विवरण सुरक्षित रूपमा व्यवस्थापन नगरिए दुरुपयोगको सम्भावना बढ्छ ।

कतिपय अवस्थामा नक्कली क्युआर कोडसमेत टाँसिएको हुन सक्छ । त्यस्ता कोड स्क्यान गर्दा प्रयोगकर्ता फेक वेबसाइटमा पुग्ने र बैंकिङ जानकारी वा व्यक्तिगत डेटा चोरी हुने जोखिम रहने विज्ञहरूको भनाइ छ ।

क्युआर कोड स्क्यान गर्दा अपनाउनुपर्ने सावधानी

  • १. क्युआर कोड वास्तविक हो वा होइन भन्ने पहिला जाँच गर्नुहोस् । माथिबाट अर्को स्टिकर टाँसिएको वा शंकास्पद देखिए स्क्यान नगर्नुहोस् ।
  • २ . आवश्यक नभएसम्म मोबाइल नम्बर वा इमेल जस्ता व्यक्तिगत विवरण नदिनुहोस् ।
  • ३ . स्क्यान गरेपछि अनौठो वेबसाइट खुलेमा वा धेरै अनुमति मागेमा तुरुन्त बन्द गर्नुहोस् ।
  • ४ . सार्वजनिक वाइफाइ प्रयोग गरेर क्युआर कोड स्क्यान गर्दा विशेष सावधानी अपनाउनुहोस् ।
  • ५ . ‘फ्री कुपन’ वा ‘क्यासब्याक’ को लोभ देखाउने शंकास्पद क्युआर कोडबाट टाढा रहनुहोस् ।

प्रधानाध्यापक रैदास भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं। कपिलवस्तुको तौलिहवास्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले रैदासलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको हो ।

अदालतले रैदासबाट भ्रष्टाचार भएको चार लाख ४३ हजार ४३० रुपैयाँ ७५ पैसा असुलउपर गर्न तथा सोही बराबरको जरिवाना तिराउन आदेश दिएको छ । साथै उनलाई ६ महिनाको कैद सजाय पनि सुनाइएको छ ।

त्यस्तै अदालतले अपराधपीडित संरक्षण कोषमा १७ हजार ७३७ रुपैयाँ २३ पैसा दाखिला गर्नुपर्ने ठहरसमेत गरेको छ ।

विद्यार्थीका लागि उपलब्ध गराइएको दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति तथा शिक्षकको सामाजिक सुरक्षा कर शीर्षकअन्तर्गतको रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।

प्रहरी महानिरीक्षक कार्कीको अर्को गीत सार्वजनिक

काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको नयाँ गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक भएको छ ।

देशमा सामाजिक रूपान्तरण, अन्याय र अत्याचारको अन्त्य तथा आमनागरिकमा न्यायप्रतिको आशा र भरोसाको भावलाई गीतमार्फत प्रस्तुत गरिएको छ । साथै आपसी सहिष्णुता, भातृत्वभाव र राष्ट्रिय एकतामार्फत समृद्ध नेपाल निर्माणको सन्देश गीतले बोकेको छ ।

गीतमा संगीतकार दीपक शर्माको संगीत तथा उदयराज पौडेलको एरेन्ज रहेको छ । गायक समिर खरेल, सदिच्छा कट्टेल, सबिन सुबेदी र बेनिसा पौडेलले स्वर दिएका छन् ।

गीतको भिडियोमा कलाकार आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना राना मगर र किरण थापालगायतको अभिनय रहेको छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन किरण थापाले गरेका हुन् भने पवन सुस्लिङले छायांकन गरेका छन् । भिडियोको परिकल्पना सरोज ओलीले गरेका छन् ।

प्रहरी महानिरीक्षक कार्कीले यसअघि पनि ‘आमा म त खरानीबाट उठेर आए’, ‘फूलको बास्ना सरी’ लगायतका दशैं, तिहार, बाल तथा कमर्सियल गीतमा शब्द रचना गरिसकेका छन् । ती गीतहरू पनि दर्शक तथा श्रोतामाझ लोकप्रिय बनेका थिए ।

सभामुखमाथि ‘छापामार शैली’को आरोप,कार्यसूची परिवर्तनप्रति जनमतको आपत्ति

जनकपुरधाम । मधेश प्रदेश सभामा सरकारको विश्वासको मतसम्बन्धी कार्यसूची अन्तिम समयमा परिवर्तन गरिएको विषयलाई लिएर जनमत पार्टीले तीव्र असन्तुष्टि जनाएको छ ।

जनमत पार्टीका प्रदेश सभा सदस्य संजयकुमार यादवले सभामुखले नियमावलीविपरीत ‘छापामार शैली’मा कार्यसूची हेरफेर गरेको आरोप लगाए । प्रदेश सभामा धारणा राख्दै उनले बिहान ११ बजे बस्ने भनिएको बैठकमा सरकारले विश्वासको मत लिने कार्यसूची अचानक हटाइनु संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासविपरीत भएको बताए ।

‘हामीले अध्ययन गरेको नियमावलीको कुन कानुन टेकेर सभामुखज्यूले कार्यसूची हेरफेर गर्नुभयो ?’ भन्दै उनले सभामुखमाथि प्रश्न उठाए ।

उनले एकपटक सरकारले विश्वासको मत लिने निर्णय गरिसकेपछि त्यसलाई दिने वा नदिने विषय सदनमै टुंगिनुपर्ने बताए । तर सत्तापक्षले आफ्नो राजनीतिक अनुकूलताअनुसार अन्तिम समयमा कार्यसूची परिवर्तन गर्नु संसदीय अभ्यासको अपमान भएको उनको भनाइ थियो ।

यादवले सभामुखजस्तो गरिमामय पदलाई सत्ता गठबन्धनको स्वार्थअनुसार प्रयोग गर्नु राम्रो सन्देश नभएको टिप्पणी गरे । उनले सरकारले अझै पनि जनमुखी काम गर्न नसके प्रदेशको राजनीतिक अवस्था थप जटिल बन्न सक्ने चेतावनीसमेत दिए ।

आज बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक ढिलाइ हुँदै साढे ३ बजेपछि मात्रै सुरु भएको थियो । आजबाट मधेश प्रदेश सभाको सातौँ अधिवेशन पनि सुरु भएको छ ।

गत वैशाख २२ गते जनमत पार्टीले नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संविधानअनुसार सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था बनेको थियो । सोहीअनुसार आज विश्वासको मत लिने तयारी भए पनि नेपाली कांग्रेसभित्रै ‘फ्लोर क्रस’ हुने सम्भावना देखिएपछि अन्तिम समयमा सरकारले कार्यसूची परिवर्तन गराएको बताइएको छ ।

कार्यस्थलमा यौन दुर्व्यवहारप्रति ‘जिरो टोलरेन्स’ अपनाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कार्यस्थलमा महिलामाथि हुने यौनजन्य दुर्व्यवहारलाई अत्यन्त गम्भीर कसुर ठहर गर्दै यस्ता घटनामा ‘जिरो टोलरेन्स’ अर्थात् शून्य सहनशीलताको नीति अनिवार्य रूपमा लागू गर्नुपर्ने स्पष्ट पारेको छ । अदालतले रोजगारदाताले महिला कर्मचारीको सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्नु कानुनी मात्र नभई नैतिक दायित्व पनि भएको उल्लेख गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि पुयाल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले २०८१ फागुन ८ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै उक्त आदेश बाहिर आएको हो ।

प्लान इन्टरनेशनल नेपालमा कार्यरत एक महिला कर्मचारीले आफूलाई कार्यालयका उच्च पदस्थ कर्मचारीबाट यौनजन्य दुर्व्यवहार भएको भन्दै दायर गरेको रिटमा सर्वोच्चले यस्तो महत्त्वपूर्ण नजिर स्थापित गरेको हो ।

पीडित महिलाका अनुसार संस्थामा लोजिष्टिक कोअर्डिनेटरका रूपमा कार्यरत नेत्रबहादुर श्रेष्ठले २०७३ चैत ३ गते कार्यालयमै संवेदनशील अंगसँग सम्बन्धित अनुचित टिप्पणी गर्दै दुर्व्यवहार गरेका थिए । त्यसपछि संस्थाले आन्तरिक छानबिन गरी श्रेष्ठलाई स्पष्टीकरण सोधेको थियो । छानबिनका क्रममा उनले स्वघोषणापत्रमार्फत आफूले गल्ती गरेको स्वीकार गरेपछि संस्थाले उनलाई सेवाबाट बर्खास्त गरेको थियो ।

तर बर्खास्तीविरुद्ध श्रेष्ठ श्रम अदालत पुगेका थिए । श्रम अदालतले उनलाई एक वर्षको तलबवृद्धि रोक्काको सजायसहित पुनर्बहाली गर्ने फैसला गरेपछि पीडित महिला सर्वोच्च अदालत पुगेकी थिइन् । सर्वोच्चले भने श्रम अदालतको फैसला उल्ट्याउँदै संस्थाले गरेको बर्खास्तीलाई नै सदर गरेको छ ।

फैसलामा सर्वोच्चले उच्च पदमा रहेका व्यक्तिबाट मातहतका महिला कर्मचारीमाथि हुने यौनजन्य दुर्व्यवहार झन् गम्भीर प्रकृतिको अपराध हुने उल्लेख गरेको छ । अदालतका अनुसार यस्ता घटनामा पदीय शक्तिको दुरुपयोग हुने, जसले पीडितको मनोवैज्ञानिक अवस्था, आत्मविश्वास, पेशागत विकास तथा सुरक्षित रूपमा काम गर्ने अधिकारमा प्रत्यक्ष असर पुर्‍याउँछ ।

सर्वोच्चले महिलाहरू प्रायः जागिर गुम्ने डर, पदावनतिको त्रास वा प्रतिशोधको भयका कारण तत्काल उजुरी गर्न नसक्ने अवस्था रहने भएकाले उजुरी ढिलो परेकै आधारमा पीडितको भनाइलाई अविश्वसनीय मान्न नमिल्ने पनि स्पष्ट पारेको छ ।

फैसलामा भनिएको छ, ‘यदि यौनजन्य दुर्व्यवहारमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिइन्छ भने त्यसले कार्यस्थलमा यस्ता घटनालाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्छ ।’

अदालतले महिलाको सुरक्षित कार्य वातावरण पाउने अधिकार केवल सैद्धान्तिक विषय नभई व्यवहारमै लागू हुनुपर्ने उल्लेख गर्दै रोजगारदाताले ‘ड्युटी अफ केयर’ अर्थात् संरक्षणको दायित्व प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिएको छ ।

सर्वोच्चले नेपालको संविधानको धारा ३८ (२) अनुसार महिलालाई यौनजन्य दुर्व्यवहारबाट संरक्षण पाउने मौलिक हक रहेको स्मरण गराउँदै यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१ ले मौखिक टिप्पणी, अश्लील व्यवहार र यौनजन्य संकेतलाई समेत कारबाहीयोग्य कसुरका रूपमा परिभाषित गरेको व्याख्या गरेको छ ।

अदालतले यस्तो कसुरमा ‘समानुपातिकता’को सिद्धान्तअनुसार सजाय निर्धारण हुनुपर्ने उल्लेख गर्दै दोषीलाई सेवामा कायम राख्दा पीडितलाई त्यही कार्यस्थलमा काम गर्न गम्भीर मनोवैज्ञानिक दबाब पर्ने निष्कर्ष निकालेको छ ।

सबैभन्दा धेरै बेरुजु अर्थमन्त्रालयको

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा संघीय मन्त्रालयहरूमध्ये सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा देखिएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार संघीय निकायहरूको कुल बेरुजु ५३ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

यस कुल बेरुजुमध्ये अर्थ मन्त्रालय र मातहतका निकायको मात्रै ३७ अर्ब ६३ करोड ३१ लाख रुपैयाँ रहेको छ, जुन कुल संघीय बेरुजुको करिब ७० प्रतिशत हो ।

बेरुजु बढी हुने मन्त्रालयको सूचीमा साविकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दोस्रो स्थानमा रहेको छ । उक्त मन्त्रालयको बेरुजु ७ अर्ब १० करोड रुपैयाँ रहेको छ, जुन कुल संघीय बेरुजुको १३.२८ प्रतिशत हो ।

त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको १ अर्ब ५३ करोड, वन तथा वातावरण मन्त्रालयको १ अर्ब ३४ करोड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको १ अर्ब १६ करोड, शहरी विकास मन्त्रालयको ८० करोड ५१ लाख, परराष्ट्र मन्त्रालयको ७४ करोड ३४ लाख, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ६५ करोड २६ लाख, गृह मन्त्रालयको ५७ करोड ७२ लाख तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ५२ करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ । अन्य मन्त्रालयहरूको बेरुजु भने १ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

अर्थ मन्त्रालयको लेखा परीक्षणको दायरा नै ठूलो भएकाले बेरुजु रकम पनि उच्च देखिएको महालेखाले जनाएको छ । मन्त्रालयअन्तर्गत २२ खर्ब ४४ अर्ब ७८ करोड ८ लाख रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो ।

कुल बेरुजुमध्ये २० अर्ब ९५ करोड रुपैयाँ असुल गर्नुपर्ने, १६ अर्ब ६३ करोड रुपैयाँ नियमित गर्नुपर्ने तथा ४ करोड ५७ लाख रुपैयाँ पेश्की बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । पहिलो १० मन्त्रालयमै कुल बेरुजुको ९७.३९ प्रतिशत हिस्सा केन्द्रित रहेको छ भने अन्य मन्त्रालयहरूको हिस्सा २.६१ प्रतिशत मात्रै रहेको छ ।

स्थानीय तहको एक वर्षको बेरुजु १९ अर्ब ५ करोड

काठमाडौं ।देशभरका ७५३ स्थानीय सरकारहरूको आर्थिक वर्ष २०८१/८२ को कुल बेरुजु १९ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ६३औँ वार्षिक प्रतिवेदन पेस गर्दै उक्त तथ्य सार्वजनिक गरेको हो ।

प्रतिवेदनअनुसार स्थानीय तहको कुल बेरुजु १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेको छ । यसमध्ये २ अर्ब १ करोड रुपैयाँ असुल गर्नुपर्ने, १५ अर्ब १८ करोड रुपैयाँ नियमित गर्नुपर्ने तथा १ अर्ब ८४ करोड रुपैयाँ पेश्की रहेको छ ।

त्यसैगरी सात प्रदेशको कुल बेरुजु ५ अर्ब २२ करोड रुपैयाँ देखिएको छ । जसमा ५२ करोड रुपैयाँ असुल गर्नुपर्ने, ३ अर्ब ७५ करोड रुपैयाँ नियमित गर्नुपर्ने र ९४ करोड रुपैयाँ पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्युठानमा भ्यान दुर्घटनामा दुई जनाको मृत्यु

प्युठान । प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्युठान-दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका-१ देविस्थानमा लु २ च ०१०४ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा भ्यानमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक रोशन पुनले जानकारी दिएका छन् ।

मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन । दुर्घटनामा परेको भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

संविधान संशोधन बहसपत्रबारे ‘जेन्जी’लाई सकारात्मक संवादमा सहभागी हुन आह्वान

काठमाडौं। संविधान संशोधनका लागि बहसपत्र तयार पार्न गठित कार्यदलले आज हुने छलफलमा सहभागी हुन जेन्जी प्रतिनिधि लाई आह्वान गरेको छ ।

कार्यदलका संयोजक असिम शाह ले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिने उद्देश्य रहेको भन्दै छलफललाई सकारात्मक रूपमा लिन आग्रह गरेका छन् ।

उनका अनुसार आज साँझ ५ बजे तय गरिएको छलफलमा अघिल्लो सरकारसँग भएका सहमतिलाई लिएर केही अन्योल देखिए पनि ती सहमति कार्यान्वयनको चरणमा रहेको स्पष्ट पारिएको छ । उनले जेन्जी परिषद् गठनको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कार्यदलले यो छलफललाई संविधान संशोधनका लागि सुझाव संकलन गर्ने अलग र विशेष प्रक्रिया भएको भन्दै अन्य राजनीतिक विवादसँग नजोड्न आग्रह गरेको छ ।

छलफलमा मौखिक तथा लिखित दुवै माध्यमबाट सुझाव संकलन गरिने र कसैको आवाज नछुट्ने दाबी कार्यदलले गरेको छ ।

यसअघि चैत २५ गतेदेखि सुरु गरिएको परामर्श प्रक्रियाअन्तर्गत कार्यदलले हालसम्म संविधानविद्, पूर्वप्रशासक तथा सञ्चार क्षेत्रका विज्ञहरूसँग छलफल गरिसकेको छ । अब अन्य सरोकारवालासँग पनि क्रमशः परामर्श गरिने बताइएको छ ।

शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयता जस्ता विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित प्रक्रिया अघि बढाइएको कार्यदलले जनाएको छ ।

करोडौँका स्वास्थ्य उपकरण ट्रमा सेन्टरदेखि प्रहरी अस्पतालसम्म प्रयोगविहीन

काठमाडौं। सरकारी अस्पतालहरूमा करोडौँ रुपैयाँ खर्चेर खरिद गरिएका अत्याधुनिक स्वास्थ्य उपकरणहरू वर्षौँदेखि प्रयोगविहीन अवस्थामा थन्किएको पाइएको छ । महालेखा परीक्षकको कार्यालय को पछिल्लो प्रतिवेदनले दक्ष जनशक्ति अभाव र कमजोर व्यवस्थापनका कारण उपकरणहरू उपयोगमा आउन नसकेको देखाएको हो ।

प्रतिवेदनअनुसार राष्ट्रिय ट्रमा सेन्टर मा ५ करोड ३७ लाख ८२ हजार रुपैयाँ मूल्यको क्याथल्याब मेसिन २०७२ सालदेखि सञ्चालनमा आउन सकेको छैन । करिब १० वर्षदेखि प्रयोगविहीन हुँदा बिरामीहरू निजी अस्पतालमा जान बाध्य भएका छन् ।

त्यसैगरी सोही अस्पतालमा २४ करोड ७७ लाख ९ हजार रुपैयाँको सिटी स्क्यान प्रणाली, १४ थान भेन्टिलेटर र ५ थान सी-आर्म मेसिनसमेत प्रयोगमा आउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा ७२ लाख ६० हजार रुपैयाँ बराबरका लिड ईसीजी केबलका ३०० सेट पनि थन्किएको पाइएको छ ।

त्यस्तै गजेन्द्र नारायण सिंह अस्पताल मा ४ करोड ९० लाख १५ हजार रुपैयाँ बराबरका एक्स-रे मेसिन, ल्याप्रोस्कोपी प्रणाली, एनेस्थेसिया मेसिन लगायतका उपकरण प्रयोगविहीन अवस्थामा छन् ।

औषधि उत्पादन गर्ने सरकारी निकाय सिंहदरबार वैद्यखाना विकास समिति मा पनि करिब ६० प्रकारका मेसिन प्रयोगमा नआएको देखिएको छ ।

यसैगरी नेपाल प्रहरी अस्पताल मा समेत १६ स्लाइसको सिटी स्क्यान र १.५ टेस्लाको एमआरआई मेसिन सञ्चालनमा आउन सकेका छैनन् ।

प्रतिवेदनले राज्यको ठूलो लगानीमा खरिद गरिएका उपकरण वारेन्टी अवधि सकिँदै जाँदा पनि प्रयोगमा नआउनु गम्भीर समस्या भएको बताएको छ ।

विज्ञहरूका अनुसार उपकरण खरिदमा कमिसनको चलखेल हुने तर सञ्चालनका लागि आवश्यक जनशक्ति, मर्मत र व्यवस्थापनमा ध्यान नदिँदा स्वास्थ्य क्षेत्रमा लगानी खेर गइरहेको छ ।

mahalekha-upakaran-1778837230.jpg

 

विद्यार्थी एकता दिवसमा विधार्थी संगठनको प्रदर्शन(तस्वीरहरु)

काठमाडौं । विद्यार्थी दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनहरूले शुक्रबार काठमाडौंमा ‘प्रतिबन्धविरुद्ध प्रतिरोध गरौं’ भन्ने नारासहित प्रदर्शन गरेका छन् ।

राजधानीका त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म गरिएको मार्चपासमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको संरक्षणको माग उठाएका थिए । प्रदर्शनका क्रममा उनीहरूले विभिन्न नारा लेखिएका प्लाकार्ड बोकेर सडकमा नाराबाजीसमेत गरेका थिए ।

‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’ तथा ‘प्रधानमन्त्री नशा, देश दशा’ जस्ता नाराहरू प्रदर्शनमा विशेष रूपमा उठाइएका थिए ।

विद्यार्थी संगठनहरूले विश्वविद्यालयभित्र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति गम्भीर असन्तुष्टि जनाउँदै त्यसविरुद्ध र्‍याली गरिएको बताएका छन् । उनीहरूले लोकतान्त्रिक अभ्यास कमजोर पार्ने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी पनि दिएका छन् ।

विद्यार्थी दिवसको अवसरमा गरिएको यो प्रदर्शनलाई विद्यार्थी अधिकार, स्वतन्त्र विद्यार्थी राजनीति तथा शैक्षिक संस्थाको स्वायत्तताको पक्षमा गरिएको सांकेतिक प्रतिरोधका रूपमा हेरिएको छ ।

 

८८ अर्ब बढी पुग्यो सरकारी बेरुजु

काठमाडौं । महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा उनले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन औपचारिक रूपमा बुझाएका हुन् ।

प्रतिवेदन प्रस्तुत गर्दै महालेखा परीक्षक रायाले नेपालको संविधानको धारा २४१ बमोजिम आफ्नो जिम्मेवारीअनुसार सार्वजनिक निकायहरूको लेखापरीक्षण गरी प्रतिवेदन तयार गरिएको जानकारी दिए । उनले सार्वजनिक स्रोत–साधनको परिचालनमा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यलाई आधार बनाइएको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल ५ हजार ५२६ निकायको ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न गरिएको छ ।

यसअन्तर्गत संघीय मन्त्रालय तथा निकायतर्फ ३ हजार ५० कार्यालय (२९ खर्ब १७ अर्ब ९५ करोड), प्रदेश मन्त्रालय तथा निकायतर्फ १ हजार १२४ कार्यालय (३ खर्ब २० अर्ब ३० करोड), स्थानीय तहतर्फ ७२१ निकाय (११ खर्ब ९ अर्ब ५२ करोड) तथा समिति एवं अन्य संस्थातर्फ ५७७ निकाय (४ खर्ब ४७ अर्ब ७७ करोड) को लेखापरीक्षण गरिएको छ ।

यस वर्ष कुल बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ कायम भएको छ । जसमध्ये संघीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४८ करोड ७७ लाख, प्रदेशतर्फ ५ अर्ब २२ करोड ८७ लाख, स्थानीय तहतर्फ १९ अर्ब ४ करोड ७७ लाख तथा समिति एवं अन्य संस्थातर्फ १० अर्ब ३२ करोड ७० लाख बेरुजु देखिएको छ ।

ट्रम्पको चीन भ्रमण : बेइजिङमा के के भयो ?

काठमाडौं। डोनाल्ड ट्रम्प र सी जिनपिङबीचको दुई दिने बहुप्रतिक्षित शिखर वार्ता शुक्रबार दिउँसो सम्पन्न भएको छ । वार्ता सकिएसँगै ट्रम्प बेइजिङबाट वाशिङ्टन फर्किएका छन् । 

बेइजिङस्थित झोङनानहाई नेतृत्व परिसरमा भएको अन्तिम बैठकपछि दुवै पक्षले व्यापार, इरान, ताइवान तथा रणनीतिक सहकार्यका विभिन्न विषयमा महत्वपूर्ण प्रगति भएको बताएका छन् ।

वार्तापछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै ट्रम्पले भ्रमणलाई ‘अविश्वसनीय’ बताएका छन् । 

‘हामीले धेरै यस्ता समस्याहरू समाधान गरेका छौं, जुन अरूले समाधान गर्न सक्दैनथे,’ उनले भने ।

ट्रम्पले दुई देशबीच ‘शानदार व्यापार सम्झौता’ भएको दाबी पनि गरेका छन् । अमेरिकी व्यापार प्रतिनिधिका अनुसार अमेरिका-चीन व्यापार युद्धविरामलाई थप विस्तार गर्ने सम्भावना देखिएको छ ।

पछिल्ला वर्षहरूमा शुल्क वृद्धि, प्रविधि प्रतिबन्ध र आपूर्ति शृंखलासम्बन्धी विवादले दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । तर पछिल्लो शिखर वार्ताले कम्तीमा तत्कालका लागि तनाव कम गर्ने संकेत दिएको विश्लेषण गरिएको छ ।

वार्ताको अर्को महत्वपूर्ण विषय इरानको आणविक कार्यक्रम र स्ट्रेट अफ हर्मुजमा बढ्दो तनाव थियो ।

अमेरिकी पक्षका अनुसार दुवै नेताले इरानले आणविक हतियार विकास गर्न नहुने र हर्मुज जलडमरू खुला रहनुपर्ने विषयमा समान धारणा राखेका छन् । फक्स न्युजले ट्रम्पलाई उदृत गर्दै लेखेको छ, ‘इरानका लागि मेरो धैर्य सकिँदै छ । उनीहरूले सम्झौता गर्नुपर्छ ।’

हालै युएई नजिक इरानले भारतीय मालवाहक जहाज नियन्त्रणमा लिएपछि क्षेत्रीय तनाव थप चर्किएको छ । इरानको संवर्धित युरेनियम कार्यक्रमबारे ट्रम्पले विवादास्पद अभिव्यक्ति दिँदै ‘यो धेरै हदसम्म जनसम्पर्कका लागि गरिएको गतिविधि हो’ भनेका छन् । आवश्यक परे सैन्य कारबाहीको विकल्प खुला रहेको संकेत पनि उनले दिएका छन् ।

अमेरिकी व्यापार प्रतिनिधिले चीन इरानको विषयमा “व्यावहारिक” रहेको र तेहरानलाई दिइने भौतिक सहायता सीमित गर्न बेइजिङले भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

ताइवान सम्बन्धी विषय पनि शिखर वार्ताको संवेदनशील एजेन्डामध्ये एक थियो । अमेरिका र चीनबीच लामो समयदेखि ताइवानकै विषयलाई लिएर तनाव रहँदै आएको छ । वार्ताका क्रममा दुवै पक्षले आफ्नो नीति अपरिवर्तित रहेको स्पष्ट पारेका छन् ।

चिनियाँ राष्ट्रपति सीले ताइवानबारे चीनको नीति परिवर्तन नभएको बताएका छन् भने अमेरिकी पक्षले पनि आफ्नो रणनीतिक धारणा यथावत् रहेको जनाएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

यससँगै अमेरिकाले चीनमा हिरासतमा रहेका केही व्यक्तिको रिहाइका विषयमा सकारात्मक कदमको अपेक्षा पनि गरेको छ ।

दुर्लभ पृथ्वी खनिज को निर्यातसम्बन्धी विषयमा पनि छलफल भएको छ । अमेरिकी व्यापार प्रतिनिधिका अनुसार चीनबाट दुर्लभ खनिज पदार्थको निर्यातमा केही सुधार आएको छ । तर इजाजतपत्र स्वीकृतिमा ढिलाइ भइरहेकाले अमेरिकी अधिकारीहरूले कम्पनीहरूको तर्फबाट हस्तक्षेप गर्नुपरेको अवस्था रहेको जनाइएको छ ।

अक्टोबर २०२५ मा चीनले लागू गरेको निर्यात नियन्त्रणपछि दुर्लभ खनिज आपूर्ति विश्वव्यापी रणनीतिक मुद्दा बनेको थियो । हालैको समझदारीपछि दुवै पक्षले यस्ता सामग्रीको ढुवानी सहज बनाउने प्रयास गरिरहेका छन् ।

वार्ताको अन्तिम दिन बिहान दुवै नेता झोङनानहाईको बगैंचामा करिब १० मिनेट सँगै हिँडेका थिए । त्यसपछि उनीहरूबीच कार्यगत चिया बैठक र बन्द भोजन कार्यक्रम आयोजना गरिएको थियो ।

बेइजिङका केही स्थानीय बासिन्दाले ट्रम्पलाई “अप्रत्याशित” शैलीको राजनीतिज्ञका रूपमा टिप्पणी गरेका छन् । उनीहरूले सार्वजनिक अभिव्यक्ति र वास्तविक रणनीतिबीच फरक देखिने गरेको बताएका छन् ।

यसैबीच ट्रम्पले सामाजिक सञ्जालमार्फत सीले गरेको ‘अमेरिका घट्दो राष्ट्र हो’ भन्ने टिप्पणी आफूलाई नभई पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेन लक्षित भएको स्पष्ट पारेका छन् ।

दुई दिने अमेरिका-चीन शिखर वार्ताले व्यापार युद्धविरामलाई निरन्तरता दिने, इरानको आणविक महत्वाकांक्षामाथि निगरानी राख्ने तथा दुर्लभ खनिज आपूर्ति सहज बनाउने विषयमा सकारात्मक संकेत दिएको छ ।

तर ताइवान, मानवअधिकार, कैदी विमोचन तथा इरानमाथिको सम्भावित अमेरिकी दबाबजस्ता विषय अझै पूर्ण रूपमा समाधान भइसकेका छैनन् । त्यसैले वार्ताले तत्काल तनाव कम गरे पनि दीर्घकालीन रणनीतिक प्रतिस्पर्धा भने कायम रहने संकेत देखिएको विश्लेषण गरिएको छ ।

ट्रम्प ९ वर्षपछी चीन भ्रमणमा गएका हुन्। यसअघि उनले सन् २०१७ मा चीनको भ्रमण गरेका थिए। 

(अन्तराष्ट्रिय संचारमाध्यमको सहयोगमा तयार गरिएको)

 

राखेपले गर्यो एन्फामाथिको निलम्बन फुकुवा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

एन्फा महासचिवसहितका पदाधिकारीहरूले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतसँग छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति बनेको हो ।

एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार फुकुवाबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) लाई जानकारी गराएपछि विस्तृत विवरण सार्वजनिक गरिनेछ । उनले निलम्बन फुकुवासँगै नेपाली महिला टोलीको साफ महिला च्याम्पियनसिपमा सहभागिता सम्भावना बढेको बताए ।

यसअघि राखेपले एन्फाले पटक–पटक दिएको निर्देशन पालना नगरेको भन्दै खेलकुद विकास ऐन २०७७ को दफा २९ (२) अनुसार गत चैत ११ गते एन्फा नेतृत्वलाई निलम्बन गरेको थियो ।

टिपटो स्पोर्ट्स एकेडेमीद्वारा ‘थ्री अन थ्री फुटबल क्लिनिक तथा च्याम्पियनसिप २०२६’ आयोजना हुने

काठमाडौं । टिपटो स्पोर्ट्स एकेडेमीको आयोजनामा जेठ २ र ३ गते तारकेश्वर नगरपालिका अन्तर्गत सेश्मतीमा रहेको टिपटो स्पोर्ट्स हबमा ‘थ्री अन थ्री फुटबल क्लिनिक तथा च्याम्पियनसिप २०२६’ आयोजना हुने भएको छ ।

सन् २०२१ मा स्थापना भएको टिपटो स्पोर्ट्स एकेडेमी ले ग्रासरुट फुटबल विकास, युवा खेलाडीको सहभागिता वृद्धि तथा प्रशिक्षण कार्यक्रममार्फत खेलकुद विकासमा योगदान गर्दै आएको छ ।

कार्यक्रममा जापानका राष्ट्रिय स्तरका खेलाडी यासुहिरो नाबेटा सहभागी हुनेछन् । उनले क्लिनिक सेसनमार्फत नेपाली युवा खेलाडीहरूलाई विशेष प्रशिक्षण दिनेछन् ।

जेठ २ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म ३–३ फुटबल क्लिनिक सञ्चालन हुनेछ भने जेठ ३ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म च्याम्पियनसिप खेलाइनेछ ।

क्लिनिकमा विभिन्न एकेडेमी तथा विद्यालयबाट यू–१२, यू–१४ र यू–१६ उमेर समूहका करिब १५० खेलाडी सहभागी हुनेछन् ।

त्यस्तै च्याम्पियनसिपमा यू–१४ र यू–१६ समूहका ३२ टोलीले नकआउट प्रणालीमा प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक टोलीमा पाँच जना खेलाडी रहने व्यवस्था गरिएको छ, जसमा मैदानमा तीन जना खेल्नेछन् भने दुई जना वैकल्पिक खेलाडी रहनेछन् ।

 प्रतियोगितामा विजेता तथा सहभागी खेलाडीहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रमको उद्देश्य नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण र प्रतिस्पर्धात्मक अनुभव दिलाउनु हो ।

 

लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक थारु सांस्कृतिक संग्रहालय (तस्वीरहरू)

दाङ। थारु समुदायको प्रमुख आधारभूमि मानिने दाङ जिल्ला मा थारु संस्कृतिको ऐतिहासिक पहिचान झल्काउने महत्वपूर्ण स्थलका रूपमा दंगीशरण गाउँपालिका अवस्थित छ । थारुका प्रथम राजा दंगीशरणले शासन गरेको विश्वासका आधारमा यस क्षेत्रलाई सांस्कृतिक तथा ऐतिहासिक रूपमा विशेष महत्व दिइन्छ ।

सोही गाउँपालिका-३ चखौरमा निर्माण गरिएको थारु सांस्कृतिक संग्रहालय, दाङ अहिले लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक बनेको छ । संग्रहालयले थारु समुदायको जीवनशैली, इतिहास, परम्परा र संस्कारलाई मूर्त र दृश्यात्मक रूपमा प्रस्तुत गरेको छ । 

संग्रहालयमा थारु समुदायका जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कारहरूलाई मूर्त र कलात्मक रूपमा देखाइएका छन् । थारु बस्तीको झल्को दिने परम्परागत घर, धन्सार, देवस्थल, पूजा-पाठ गर्ने स्थान, तथा संस्कारसँग सम्बन्धित सामग्री यहाँ आकर्षक रूपमा सजाइएका छन् ।

थारु पुरुष र महिलाले प्रयोग गर्ने परम्परागत पोशाक, गहना, श्रृंगार सामग्री, नाचगानका भेषभूषा तथा सांस्कृतिक उपकरणहरूले संग्रहालयलाई जीवन्त बनाएका छन् ।

दाङ मात्र होइन, चितवन जिल्ला, कैलाली जिल्ला, कञ्चनपुर जिल्ला, बाँके जिल्ला, बर्दिया जिल्ला र मोरङ जिल्ला लगायतका क्षेत्रमा बसोबास गर्ने थारु समुदायको सांस्कृतिक जीवनशैली पनि यहाँ समेटिएको छ ।

संग्रहालय परिसरमा थारुका प्रथम राजा दंगीशरणको प्रतिमा, ऐतिहासिक मूर्ति तथा नक्सा समेत राखिएको छ, जसले यसको ऐतिहासिक महत्वलाई अझ प्रस्ट बनाएको छ ।

करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको यस संग्रहालयमा दुई सयभन्दा बढी मूर्तिहरू निर्माण गरिएका छन् । यहाँ पुरानो तथा नयाँ संग्रहालय भवन, थियटर हल, पुस्तकालय, रेकर्डिङ स्टुडियो, कोशेली घर, पाहुना घर, रेष्टुरेन्ट तथा सभाहल जस्ता संरचनाहरू रहेका छन् ।

रेष्टुरेन्टमा थारु समुदायका परम्परागत परिकारहरू स्वाद लिन पाइन्छ भने पर्यटकका लागि आवास सुविधासमेत उपलब्ध छ ।

संग्रहालय अवलोकनका लागि दैनिक सयौँदेखि एक हजारभन्दा बढी पर्यटक पुग्ने गरेका छन् । थारु समुदायसँगै अन्य जातजातिका पर्यटकको पनि उल्लेख्य भीड लाग्ने गरेको छ ।

यहाँ पर्यटकलाई जानकारी दिन गाइडको व्यवस्था गरिएको छ । करिब दुई दर्जनले प्रत्यक्ष रोजगारी पाएका छन् भने स्थानीय स्तरमा तरकारी, माछा, घुँघी, स्थानीय परिकार तथा हस्तकलाका सामग्री बिक्रीबाट सयौँ परिवारको जीविकोपार्जनमा सहयोग पुगेको छ ।

थारु समुदायको परम्परागत कृषि औजार, माटाका भाँडा, गुन्द्री, ढकिया, काठका सामग्री, चाँदीका गहना तथा माछा मार्ने उपकरणहरू समेत संग्रहालयमा सुरक्षित रूपमा राखिएका छन् ।

यसरी दाङको थारु सांस्कृतिक संग्रहालय केवल पर्यटन स्थल मात्र नभई थारु समुदायको इतिहास, पहिचान र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ ।

प्रधानमन्त्री बालेनको नेतृत्वमा विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय गठन, के के गर्छ काम ?

काठमाडौं । सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित नयाँ मन्त्रालय गठन गरेको छ । नेपाल सरकार को मन्त्रिपरिषद्को गत वैशाख ३० गतेको निर्णयपछि राजपत्रमा प्रकाशित ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३’ मार्फत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय औपचारिक रूपमा स्थापना गरिएको हो ।

नयाँ संरचनाअनुसार यस मन्त्रालयको जिम्मेवारी हाल प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हालेका छन् । सरकारको भनाइमा यो निर्णय विज्ञान र प्रविधिलाई राज्यको दीर्घकालीन विकास रणनीतिसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले गरिएको हो । 

नवगठित मन्त्रालयलाई विज्ञान, प्रविधि र नवप्रवर्तनसँग सम्बन्धित नीति, कानुन तथा मापदण्ड निर्माण गर्ने प्रमुख निकायका रूपमा तोकिएको छ । यसले अब वैज्ञानिक अनुसन्धान, प्रविधि विकास, नवप्रवर्तन प्रवर्द्धनदेखि अन्तरिक्ष तथा खगोल विज्ञानसम्बन्धी अध्ययन अनुसन्धानसम्म समेट्नेछ ।

मन्त्रालयले देशभर विज्ञान तथा प्रविधिसम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण र राष्ट्रिय स्तरको मापदण्ड निर्धारण गर्नेछ । यसले वैज्ञानिक योजनाहरू निर्माणका लागि आधार तयार गर्ने सरकारी अपेक्षा छ ।

सरकारले पारमाणविक प्रविधि र रेडियोधर्मी पदार्थसम्बन्धी विषयलाई पनि यसै मन्त्रालयको कार्यक्षेत्रमा समेटेको छ । यसअनुसार पारमाणविक पदार्थको गुणस्तर, उपयोग, नियमन तथा व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले हेर्नेछ ।

त्यस्तै जैविक प्रविधि, रासायनिक पदार्थको प्रयोग तथा नियन्त्रण, र वैज्ञानिक उपकरणहरूको क्यालिब्रेसन तथा प्रमाणीकरणसम्बन्धी काम पनि यस मन्त्रालयअन्तर्गत रहनेछ ।

सरकारले आणविक ऊर्जा क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै पारमाणविक पदार्थको खोज, पुनर्लाभ तथा व्यवस्थापन र आणविक ऊर्जासम्बन्धी नीति तथा कानुनी ढाँचा निर्माणको जिम्मेवारी पनि यही मन्त्रालयलाई दिएको छ ।

ओजोन तह अध्ययन, सौर्य विकिरण मापन तथा त्यससम्बन्धी सूचना प्रवाह, तथा वातावरणीय वैज्ञानिक अध्ययनसम्बन्धी कार्य पनि मन्त्रालयको जिम्मेवारीमा पर्छ ।

यसका साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान, प्लानेटेरियम, वेधशाला तथा विज्ञान सङ्ग्रहालयजस्ता संरचनाहरू अब एउटै मन्त्रालयअन्तर्गत सञ्चालन हुनेछन् ।

मन्त्रालयले नवप्रवर्तन, प्रविधि विकास र औद्योगिक आधुनिकीकरणलाई मुख्य प्राथमिकतामा राखेको छ । विशेषगरी वस्तु, सेवा, उत्पादन प्रक्रिया तथा डिजाइनमा नवप्रवर्तन ल्याउनेदेखि उद्योग क्षेत्रमा ‘इन्डस्ट्री ४.०’ र ‘इन्डस्ट्री ५.०’ जस्ता आधुनिक अवधारणाको अध्ययन, अनुसन्धान र प्रयोगसम्म यसको कार्यक्षेत्र विस्तार गरिएको छ ।

सरकारका अनुसार यसले नेपालको औद्योगिक संरचनालाई डिजिटल, स्वचालित र ज्ञान–आधारित अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य लिएको छ ।

मन्त्रालयलाई विज्ञान तथा प्रविधिसम्बन्धी विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, सहकार्य र समन्वय गर्ने अधिकार पनि दिइएको छ । यसबाट अनुसन्धान, प्रविधि हस्तान्तरण र नवप्रवर्तनमा अन्तर्राष्ट्रिय सहयोग विस्तार हुने अपेक्षा गरिएको छ ।

नेपालमा विज्ञान तथा अनुसन्धान क्षेत्र लामो समयदेखि बजेट अभाव, नीतिगत अस्पष्टता र दक्ष जनशक्ति पलायनजस्ता समस्याबाट प्रभावित हुँदै आएको छ । 

यस्तो अवस्थामा छुट्टै मन्त्रालय गठन भएपछि नीति निर्माणदेखि कार्यान्वयनसम्म एकीकृत संरचना बन्ने र अनुसन्धान तथा नवप्रवर्तनमा ठोस परिणाम देखिने अपेक्षा सरकारको छ ।