`

सात दिनभित्र हाजिर हुन पुनमलाई प्रहरीको निर्देशन

काठमाडौं । पुनम चन्द लाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन नेपाल प्रहरीले निर्देशन दिएको छ । साथै, गैरहाजिर रहनुको कारण स्पष्ट खुलाएर सन्तोषजनक स्पष्टीकरण पेस गर्न समेत प्रहरी प्रधान कार्यालयले आग्रह गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयले २०८३ जेठ ११ गते सूचना जारी गर्दै पुनम चन्दसहित गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई तोकिएको समयसीमाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो । सूचनामा गैरहाजिर रहनुको कारण स्पष्ट नदेखिएको र सम्बन्धित कर्मचारी सम्पर्कमा नआएको उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार पुनम चन्द २०८२ चैत १५ गतेदेखि कार्यालयमा अनुपस्थित रहँदै आएकी छन् । लामो समयदेखि सम्पर्कविहीन भएपछि खोजतलास गर्ने प्रक्रिया अघि बढाइएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी सूचना टाँससमेत गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सूचना जारी गर्दै सम्बन्धित नियमअनुसार गैरहाजिर कर्मचारीलाई अन्तिम मौका दिइएको र सात दिनभित्र हाजिर नभए थप विभागीय कारबाही अघि बढाइने चेतावनी दिएको छ । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना जारी गरिएको उल्लेख छ ।

यसबीच, पुनम चन्द नेपाली महिला भलिबल टिम तथा नेपाल पुलिस क्लबकी खेलाडीसमेत हुन् । नेपाल भलिबल संघले आयोजना गरेको काभा महिला भलिबल च्याम्पियनसिपका लागि गरिएको बन्द प्रशिक्षणमा उनी प्रारम्भिक चरणमा समावेश भए पनि पछि टिमबाट बाहिरिएको बुझिएको छ । त्यसपछि उनी अस्ट्रेलिया गएको जानकारी समेत सम्बन्धित स्रोतहरूले दिएका छन् ।

हाल नेपाली महिला राष्ट्रिय टिम घरेलु मैदानमा काभा महिला भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको छ । तर पुनम चन्द भने टोलीमा अनुपस्थित रहेकी छन्, जसले उनको अवस्थाबारे थप प्रश्न उठाएको छ ।

प्रहरीले स्पष्ट पारेअनुसार तोकिएको म्यादभित्र कार्यालयमा उपस्थित नभए गैरहाजिरीलाई निरन्तरता दिँदै नियमअनुसार विभागीय कारबाही अघि बढाइनेछ ।

संसदमा उठ्यो पत्रकार किशोर श्रेष्ठ पक्राउको कुरा[भिडियाे]

काठमाडौं। प्रतिनिधिसभा बैठकमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्ने सरकारको तयारीबारे चर्चा भएको छ ।

मंगलबारको बैठकमा बोल्दै युवराज दुलाल ले पत्रकार श्रेष्ठलाई पक्राउ गर्ने तयारी गरेर सरकारले सञ्चारमाध्यमलाई आतंकित बनाउने काम गरेको आरोप लगाए ।

“समाचार लेखेकै भरमा पत्रकारलाई आतंकित गर्ने जुन प्रवृत्ति अहिले देखिएको छ, यसले आम सञ्चारमाध्यममा संशय पैदा गरेको छ,” उनले भने ।

सञ्चारमाध्यमलाई सरकारको निर्बाध आलोचना गर्ने स्वतन्त्रता रहेको उल्लेख गर्दै दुलालले समाचार लेखेकै आधारमा किशोर श्रेष्ठलाई पक्राउ गर्न खोज्नु सरकारको आतंक मच्चाउने प्रयास भएको जिकिर गरे ।

‘जिबी राई कहिले पक्राउ पर्छन् सरकार?’ [भिडियाे]

काठमाडौं । आरेन राई ले सरकारमाथि विभिन्न विषयमा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाँदर व्यवस्थापनदेखि सुकुम्वासी समस्या र सहकारी पीडितलाई वितरण गरिएको रकमसम्मका विषयमा सरकारसँग स्पष्ट जवाफ मागे ।

श्रम संस्कृति पार्टीका महासचिवसमेत रहेका राईले सरकारलाई प्रश्न गर्दै भने, ‘बाँदर व्यवस्थापन कहिले हुन्छ ? सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले सरकार भएको अनुभूति गर्ने गरी व्यवस्थापन कहिले हुन्छ ? जीबी राई कहिले पक्राउ पर्छन् ? किसानका समस्या व्यवहारमै समाधान हुन्छन् कि सामाजिक सञ्जालमै सीमित हुन्छन् ?’

सहकारी पीडितलाई राज्यकोषबाट राहत वितरण गर्ने विषयमा पनि उनले आपत्ति जनाए । जनताले तिरेको करबाट सहकारी पीडितको रकम फिर्ता दिन नहुने उनको भनाइ थियो ।

‘यदि सरकारले सहकारी, बैंक वा अन्य व्यवसाय डुबेको पैसा तिरिदिने नीति लिएको हो भने त्यसबारे स्पष्ट हुनुपर्छ,’ उनले भने ।

सत्ता केन्द्रित बहसले मात्र संविधान संशोधन सफल नहुने सांसद केसीको टिप्पणी

काठमाडौं। प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले संविधान संशोधनसम्बन्धी बहस सरकारी कार्यालयभित्र मात्रै सीमित रहन नहुने बताएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले संविधान संशोधनजस्तो महत्वपूर्ण विषयलाई व्यापक राष्ट्रिय संवादमार्फत अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

उनले भने,‘संविधान संशोधनका लागि पूर्व प्रधानन्यायाधीशको संयोजनमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश गरी शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्नु जरुरी छ। उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेच सम्मेलनमा जानु आवश्यक छ।

सांसद केसीले पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ तथा नागरिक समाजका प्रतिनिधिहरू समावेश हुने गरी शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्नुपर्ने प्रस्ताव गरे । उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेच सम्मेलन आयोजना गर्नुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘राष्ट्रिय जटिलता, वैश्विक द्वन्द्व र सामाजिक ध्रुवीकरणको अवस्थामा सत्ता वरिपरि केन्द्रित बहसले मात्र संशोधन सफल हुँदैन। बृहत् राष्ट्रिय संवादबाट मात्र यसले वैधता, जनविश्वास र साझा राष्ट्रिय सहमति निर्माण गर्न सक्छ।’

केसीका अनुसार संविधान संशोधन प्रक्रिया दीर्घकालीन स्थिरता, लोकतान्त्रिक विश्वास, राष्ट्रिय एकता तथा मेलमिलापको आधार निर्माणसँग जोडिनुपर्ने बताउँदै उनले सबै पक्षको सहकार्य आवश्यक रहेको स्पष्ट पारेका छन् ।

इन्दिरा रानाले संसदमै ‘म कराइराख्छु किन भनिन्?’ [भिडियो]

काठमाडौं। रास्वपा सांसद इन्दिरा रानामगरले आफूले १९९० सालदेखि नै देशका विभिन्न कुनाकाप्चाबाट बालबालिकाको उद्धार गर्दै आएको बताएकी छन् ।

उनले विगतमा गोलघरमा मानिसलाई साङ्ग्लोमा बाँधेर यातना दिइने घटनाविरुद्ध समेत आवाज उठाएको उल्लेख गरिन् । मानवअधिकार र बालबालिकाको सुरक्षाका लागि निरन्तर संघर्ष गरिरहे पनि आफूलाई प्रतिपक्षी दलका कार्यकर्ताले नकारात्मक रूपमा चित्रण गर्ने प्रयास भइरहेको उनको गुनासो थियो ।

रानामगरले वास्तविक मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्तिमाथि कारबाही गर्नुपर्ने मागसमेत गरिन् । आफूले अन्याय र शोषणविरुद्ध हिजो पनि आवाज उठाएको र आज पनि निरन्तर बोलिरहेको उनले बताइन् ।

धमिराका विरुद्द ३७ वर्षदेखि राष्ट्रियताको संघर्ष जारी छ : बानु [भिडियाे]

काठमाडौँ ।  रास्वपा सांसद अफ्साना बानुले पछिल्ला ३७ वर्षदेखि देशभित्र विभिन्न चुनौती र संघर्षहरू जारी रहेको भन्दै देश र राष्ट्रियताको संरक्षणका लागि नागरिकहरूले निरन्तर संघर्ष गर्दै आएको बताएकी छन् । उनले देशविरोधी गतिविधिविरुद्ध आफूहरू लामो समयदेखि लडिरहेको दाबी गरिन् ।

उनका अनुसार राष्ट्रिय झण्डा ओढ्नेहरु देशद्रोही नभइ देशको रक्षा गर्ने मानिसहरु हुन् । उनले देशप्रति गद्दारी नगरेको र राष्ट्रको हितका लागि निरन्तर संघर्ष गरिरहेको उल्लेख गरिन् ।

बानुले रोजगारी र उज्ज्वल भविष्यको खोजीमा रहेका धेरै विद्यार्थी तथा युवाहरू परिवारको जिम्मेवारी बोकेर संघर्षरत रहेको बताइन् । देश र परिवारको भविष्य सुरक्षित गर्न युवापुस्ताले लामो समयदेखि कठिन संघर्ष गर्दै आएको उनको भनाइ थियो ।

गौशालामा डोजर आतंक रोक्न सांसद यादवको माग

काठमाडौं। नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले महोत्तरीको गौशाला नगरपालिका-५ का ३४ घरधुरीमाथि भइरहेको डोजर आतंक तत्काल रोक्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो विषय केवल ३४ घरधुरीको बसोबाससँग मात्र सम्बन्धित नभई संविधानले प्रत्याभूत गरेको गाँस, बास र कपासको अधिकार, मानवताको सम्मान, कानुनी शासन तथा लोकतान्त्रिक मूल्यमान्यतासँग जोडिएको बताएकी हुन् ।

उनले भनिन्, ‘गौशाला नगरपालिका-५ को बजार क्षेत्रमा २०२८ सालअघि स्थायी बजार नभएको र स्थानीय तहका तत्कालीन संरचनाले बजार व्यवस्थापन तथा स्थानीयको जीविकोपार्जन सहज बनाउन कित्ता नम्बर ११५ को जग्गा स्थानीय बासिन्दालाई भोगचलनका लागि दिएको छ। त्यसयता निरन्तर रूपमा बहाल उठाइएको, कर संकलन गरिएको, पक्की घर निर्माण अनुमति दिइएको तथा नक्सा पास र मालपोत प्रयोजनका लागि सिफारिससमेत हुँदै आएको छ।’

उनका अनुसार गौशाला नगरपालिका-५ को बजार क्षेत्रमा २०२८ सालअघि स्थायी बजार संरचना नभएको अवस्थामा तत्कालीन स्थानीय निकायले बजार व्यवस्थापन तथा स्थानीयको जीविकोपार्जन सहज बनाउन कित्ता नम्बर ११५ को जग्गा स्थानीय बासिन्दालाई भोगचलनका लागि उपलब्ध गराएको थियो ।

त्यसयता निरन्तर रूपमा बहाल उठाउने, कर संकलन गर्ने, पक्की घर निर्माण अनुमति दिने तथा नक्सा पास र मालपोत प्रयोजनका लागि सिफारिससमेत हुँदै आएको उनले बताइन् ।

सांसद यादवले सर्वोच्च अदालतको निर्णयविपरीत सूचना टाँस गर्ने, डोजर चलाउने चेतावनी दिने तथा स्थानीय परिवारलाई मानसिक तनाव दिने कार्य भइरहेको आरोप लगाइन् । उनले उक्त तनावका कारण ६२ वर्षीय विनोद साहको हृदयघातबाट मृत्यु भएको दाबीसमेत गरिन् ।

उनले सरकारबाट भइरहेको जबरजस्ती हटाउने कार्य तत्काल रोक्न, त्यहाँ बसोबास गरिरहेका ३४ घरधुरीको कानुनी, मानवीय तथा संवैधानिक अधिकारको संरक्षण गर्न तथा प्रभावित परिवारसँग संवादमार्फत समाधान खोज्न माग गरिन्। 

इजरायली आक्रमण : लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी। लेबनान को पूर्वी तथा दक्षिणी क्षेत्रमा इजरायली लडाकु विमानले मंगलबार श्रृङ्खलाबद्ध हवाई आक्रमण गर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

रिपोर्टहरूका अनुसार इजरायल ले दक्षिणी लेबनानका टायर र बिन्ट जेबिल जिल्लाका विभिन्न सहरलाई लक्षित गर्दै हवाई आक्रमण गरेको हो। आक्रमणपछि प्रभावित क्षेत्रमा त्रास फैलिएको छ भने स्थानीय बासिन्दाहरू सुरक्षित स्थानतर्फ सर्न थालेका छन्।

यसैबीच, बेरुतको दक्षिणी उपनगरमा समेत आक्रमण विस्तार गर्न सकिने इजरायली चेतावनीपछि विस्थापित नागरिकहरूको आवागमन बढेको जनाइएको छ। स्थानीय सञ्चारमाध्यमहरूले धेरै परिवारले रातारात सुरक्षित क्षेत्र खोज्न थालेको उल्लेख गरेका छन्।

लेबनानको जनस्वास्थ्य मन्त्रालयअन्तर्गतको जन–स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार मार्च २ यता इजरायली आक्रमणमा परी हालसम्म तीन हजार १८५ जनाको मृत्यु भइसकेको छ भने नौ हजार ६३३ जना घाइते भएका छन्।

अप्रिल १६ देखि लागू भएको युद्धविराम सम्झौतापछि पनि दक्षिणी लेबनानमा इजरायलले आक्रमण जारी राखेको आरोप लागिरहेको छ। बढ्दो हिंसा र मानवीय संकटका कारण अन्तर्राष्ट्रिय समुदायको चिन्ता समेत बढेको छ।

क्षेत्रीय सुरक्षा अवस्था झन् जटिल बन्दै गएपछि मे १५ मा दोस्रो पटक ४५ दिनका लागि युद्धविराम अवधि थप गरिएको थियो। तर त्यसपछि पनि आक्रमण नरोकिएकाले युद्धविरामको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।

लागूऔषधका ३१ तस्कर पक्राउ

पर्सा। भारतसँगको खुला सीमाका कारण पर्सामा लागूऔषध सेवन र तस्करी दुवै बढ्दै गएको देखिएको छ । पर्सा प्रहरीले वैशाख महिनामा मात्रै ३१ जना लागूऔषध तस्करलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरूबाट ८ किलो ४ सय ग्राम गाँजा, १६ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, ४ किलो ३१ ग्राम चरेस तथा ३० हजार ५ सय १७ वटा ट्रामाडोल ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

गत शनिबार राति पनि पर्सा प्रहरीले खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको थियो । ना ३९ प २५३२ नम्बरको स्प्लेन्डर मोटरसाइकलमा भेडियाहीबाट मिलनचोकतर्फ आउँदै गरेका वीरगन्ज–३२ परसवाका २० वर्षीय राहुल सिंह र बारा जितपुरसिमरा–७ खालका टोलका १९ वर्षीय नन्दन गुप्ताको साथबाट ८ ग्राम ४० मिलिग्राम लागूऔषध बरामद गरिएको हो ।

यसअघि वैशाख २५ गते भारतबाट नेपालतर्फ आउँदै गरेका चार जना लागूऔषध तस्करलाई वीरगन्ज–१६ स्थित शंकराचार्य गेट चेकपोस्टबाट पक्राउ गरिएको थियो । प्रहरीले ६ सय मिलिग्राम खैरो हेरोइनसहित २७ वर्षीय विकासकुमार साह र २३ वर्षीय कविन पराजुलीलाई नियन्त्रणमा लिएको थियो । त्यस्तै ५ ग्राम खैरो हेरोइन र शून्य दशमलव २५ मिलिग्राम सेतो हेरोइनसहित २० वर्षीय सागर घिमिरे र २३ वर्षीया पूजा जिम्बा पनि पक्राउ परेका थिए ।

त्यसको भोलिपल्ट पनि प्रहरीले ३ ग्राम ३७ मिलिग्राम खैरो हेरोइनसहित २९ वर्षीय अन्जन थापा र १९ वर्षीय रोमश बम्जनलाई पक्राउ गरेको थियो । साथै ५३ वटा प्रतिबन्धित ट्याब्लेटसहित ३७ वर्षीय राजु बनियाँ र ५२ वर्षीय अलिहदन मियाँलाई पनि नियन्त्रणमा लिइएको थियो ।

पर्सा प्रहरीले लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान’ सञ्चालन गरेपछि दैनिकजसो साना स्तरका लागूऔषध तस्कर पक्राउ पर्न थालेका छन् । प्रहरीका अनुसार वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरिरहेका कैदीबन्दीमध्ये झण्डै आधाजसो लागूऔषध मुद्दासँग सम्बन्धित छन् । पछिल्लो समय लागूऔषध कारोबारमा महिलाको संलग्नता पनि बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ ।

भारतसँगको खुला सीमा लागूऔषध तस्करीको मुख्य कारण बन्दै गएको छ । सीमावर्ती क्षेत्रमा सक्रिय तस्करी सञ्जालका कारण युवापुस्तामा लागूऔषध प्रयोगको समस्या थप गम्भीर बन्दै गएको सरोकारवालाहरू बताउँछन् ।

आज यी जिल्लामा तीव्र हावाहुरीको सम्भावना,सतर्क रहन आग्रह

काठमाडौं। देशका विभिन्न स्थानमा मंगलवार दिउँसोपछि तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले पाँच प्रदेशका केही जिल्लामा हावाहुरीको जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

महाशाखाका अनुसार कोसी प्रदेश अन्तर्गत झापा, मोरङ तथा आसपासका जिल्लामा तीव्र हावाहुरी चल्न सक्ने सम्भावना छ।

त्यसैगरी मधेस प्रदेश का बारा, पर्सा, सर्लाही र धनुषासहित आसपासका क्षेत्रमा पनि मौसम प्रतिकूल बन्न सक्ने पूर्वानुमान गरिएको छ।

यस्तै बागमती प्रदेश का मकवानपुर र चितवन आसपासका जिल्लामा पनि हावाहुरीको प्रभाव देखिन सक्ने महाशाखाले जनाएको छ। गण्डकी प्रदेश अन्तर्गत नवलपुर, तनहुँ र आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ।

त्यसैगरी लुम्बिनी प्रदेश का रुपन्देही तथा आसपासका जिल्लामा पनि तीव्र गतिको हावा चल्न सक्ने चेतावनी दिइएको छ।

मौसमविद्हरूले हावाहुरीसँगै मेघगर्जन, चट्याङ तथा क्षणिक वर्षाको सम्भावना पनि रहने बताएका छन्।

खुला स्थानमा नबस्न, कमजोर संरचनाबाट टाढा रहन तथा सवारी चलाउँदा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिनिधिसभा नियमावलीमा ३५ संशोधन प्रस्ताव दर्ता, विपक्षी दलले जनाए विरोध

काठमाडौं । प्रतिनिधिसभा नियमावलीको नयाँ मस्यौदामा ३५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । विभिन्न राजनीतिक दलका सांसदहरूले प्रस्तावित व्यवस्थामाथि संशोधन सुझाव पेश गरेका हुन् ।

गत जेठ ४ गते बसेको प्रतिनिधिसभा बैठकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको थियो । त्यसपछि सभामुखले सांसदहरूलाई संशोधन दर्ता गर्न समय दिएका थिए । 

विपक्षी दलहरूले मुख्य रूपमा तीन विषयमा असन्तुष्टि जनाएका छन् । पहिलो, संसदीय समितिको बैठक मन्त्री उपस्थित नभए पनि सञ्चालन गर्न सकिने प्रस्तावित व्यवस्थाप्रति उनीहरूको विरोध छ । दोस्रो, सांसदलाई विशेषाधिकार दिने नयाँ प्रावधानमा पनि विपक्षी दल सहमत छैनन् । तेस्रो, संविधान संशोधनसम्बन्धी विधेयक पारित गर्ने प्रक्रियामा गरिएको नयाँ व्यवस्थामाथि पनि उनीहरूले आपत्ति जनाएका छन् ।

मस्यौदा नियमावलीको नियम १७८ मा संसदीय विषयगत समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था गरिएको छ । यसको उपनियम ४ मा विधेयकमाथिको छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुने उल्लेख छ । तर अन्य कार्यसूचीमा भने आवश्यकताअनुसार मात्रै मन्त्री उपस्थित हुनुपर्ने प्रस्ताव गरिएको छ ।

हाल लागू रहेको प्रतिनिधिसभा नियमावली २०७९ मा भने समितिका सबै कार्यसूचीमा मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ । नयाँ मस्यौदाले मन्त्री अनुपस्थित भए पनि समितिको बैठक सञ्चालन गर्न सकिने बाटो खुला गरेकाले विपक्षी दलले त्यसको विरोध गरेका हुन् ।

यसैगरी, विपक्षी दलले नियम २५९ मा थप गरिएको नयाँ व्यवस्थामाथि पनि आपत्ति जनाएका छन् । ‘नियमावली लागू हुने’ सम्बन्धी उक्त व्यवस्थाको उपदफा १ मा सभा, समिति र सदस्यका हकमा नियमावली संघीय कानुनसरह लागू हुने उल्लेख छ । उपदफा २ मा भने ‘यो नियमावली प्रतिनिधिसभा सदस्यको विशेषाधिकारको रूपमा रहनेछ’ भनिएको छ । यसअघि यस्तो व्यवस्था नियमावलीमा थिएन ।

संविधान संशोधन प्रक्रियासम्बन्धी प्रस्तावित व्यवस्थाले पनि विवाद निम्त्याएको छ । नयाँ मस्यौदाको नियम १४० मा संविधान संशोधन विधेयकको कार्यविधि उल्लेख गरिएको छ । त्यसको उपनियम ११ अनुसार प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पठाइएको संविधान संशोधन विधेयक राष्ट्रिय सभाले अस्वीकृत गरे पनि, दुवै सदनका तत्काल कायम रहेका सदस्यहरूको कम्तीमा दुई तिहाइ समर्थन पुगेको अवस्थामा सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

यो व्यवस्था प्रतिनिधिसभा नियमावली २०७९ मा थिएन । विपक्षी दलहरूले यस्तो प्रावधान संविधान संशोधनको मूल भावना र संवैधानिक मर्मविपरीत रहेको भन्दै विरोध जनाएका छन् ।

प्रधानमन्त्री बालेन भेट्न इयूका राजदूत र मिसन प्रमुख सिंहदरबार पुगे [तस्वीरहरू]

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन्।

भेटवार्ताका लागि इयू सदस्य राष्ट्रका राजदूत तथा मिसन प्रमुखहरू सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। प्रधानमन्त्री कार्यालयमा हुने उक्त भेटमा नेपाल–इयू सम्बन्ध, विकास सहकार्य तथा समसामयिक कूटनीतिक विषयमा छलफल हुने जनाइएको छ।

प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटका क्रममा नेपालको वर्तमान प्राथमिकता, आर्थिक तथा विकासका एजेन्डा, द्विपक्षीय सम्बन्ध विस्तार र सहकार्यका विविध आयामबारे जानकारी आदानप्रदान हुनेछ।

त्यस्तै नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट तत्काल बाहिर नल्याई अन्तर्राष्ट्रिय समर्थन कायम राख्ने विषयमा पनि पहल गरिने बताइएको छ। साथै, युरोपेली सङ्घको हवाई सुरक्षा सम्बन्धी ‘कालोसूची’ बाट नेपाललाई हटाउने विषयमा समेत छलफल हुने बुझिएको छ।

नेपालको नागरिक उड्डयन क्षेत्र सुधार, हवाई सुरक्षाको स्तर वृद्धि तथा अन्तर्राष्ट्रिय मापदण्ड पालनाका विषयमा सरकारले गरिरहेका प्रयासबारे पनि प्रधानमन्त्रीले जानकारी गराउने तयारी रहेको स्रोतले जनाएको छ।

यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए। उक्त भेटमा पनि नेपालका समसामयिक राजनीतिक, आर्थिक र कूटनीतिक विषयमा छलफल भएको थियो।

रौतहटमा कुटपिटपछि युवकको मृत्यु, एक पक्राउ

काठमाडौं। चन्द्रपुर नगरपालिका–४ ठाडाटोलमा भएको कुटपिट घटनामा एक युवकको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार कुटपिटबाट घाइते भएका ३० वर्षीय विष्णु सुबेदीको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार बारा जिल्लाको निजगढ नगरपालिका–६ भवाराटोल घर भई हाल चन्द्रपुर–४ मा बसोबास गर्दै आएका ३८ वर्षीय बिमल मोक्तानले सुबेदीमाथि कुटपिट गरेका थिए। घटनापछि गम्भीर घाइते भएका सुबेदीलाई तत्काल चन्द्रनिगाहपुर अस्पताल लगिएको थियो।

अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

उपचारपछि घर फर्काइएका सुबेदीको मंगलबार राति अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि पुनः चन्द्रनिगाहपुर अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनालगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले आरोपित बिमल मोक्तानलाई पक्राउ गरेको छ। मृतक सुबेदीको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

बर्ड फ्लु पुष्टि : काठमाडौंमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा कृषकलाई आग्रह गरेको छ। नगरपालिकाले सोमबार सूचना जारी गर्दै वडा नम्बर २, ३ र ४ मा संक्रमण देखिएको जानकारी दिएको हो।

नगरपालिकाका अनुसार संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा रहेका कुखुरा, हाँस, बट्टाई, लौकाटलगायत पन्छीहरू, अण्डा तथा दानालाई सुरक्षित रूपमा नष्ट गर्ने कार्य तीव्र पारिएको छ। संक्रमित क्षेत्रका पन्छीजन्य वस्तुहरू खाल्डोमा गाड्ने र सम्पूर्ण क्षेत्र निसंक्रमण गर्ने काम जारी रहेको जनाइएको छ।

संक्रमण नियन्त्रणका लागि पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा रोक लगाइएको छ। अत्यावश्यक अवस्थामा प्रवेश गर्नुपरे अनिवार्य रूपमा निसंक्रमण गर्नुपर्ने व्यवस्था लागू गरिएको नगरपालिकाले जनाएको छ। साथै, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नपाउने, प्रयोग गरिएका अण्डा राख्ने क्रेट पुनः प्रयोग नगर्नुपर्ने तथा फार्मको प्रवेशद्वारमा चुना वा निसंक्रामक औषधि राखिएको फुटबाथ अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ।

नगरपालिकाले कृषकलाई खोरभित्र जाँदा छुट्टै बुट र एप्रोन प्रयोग गर्न तथा दैनिक रूपमा खोर निसंक्रमण गर्न आग्रह गरेको छ। त्यस्तै फार्म परिसरमा कुकुर, बिरालो र मुसा जस्ता जनावरहरूको प्रवेश रोक्न तथा मरेका पन्छीहरूलाई तुरुन्त सुरक्षित तरिकाले गाड्न भनिएको छ।

पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरिएको छ। सर्वसाधारणलाई मासु तथा अण्डाजन्य परिकार राम्रोसँग पकाएर मात्र सेवन गर्न नगरपालिकाले सचेत गराएको छ।

यदि कुनै क्षेत्रमा ठूलो संख्यामा पन्छी बिरामी पर्ने वा मर्ने घटना देखिएमा तत्काल नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा जानकारी गराउन पनि नगरपालिकाले अनुरोध गरेको छ।

एक करोडभन्दा बढी जरिबाना तोकिएका फरार ‘राना’ कोहलपुरबाट पक्राउ

काठमाडौं। बाँकेको कोहलपुरबाट अदालतले एक करोड रुपैयाँभन्दा बढी जरिबाना र कैद सजाय तोकेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरले विभिन्न बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी मुद्दामा सजाय सुनाइएका कोहलपुर नगरपालिका–१० का ३४ वर्षीय कुलिन भन्ने अविनाश रानालाई नियन्त्रणमा लिएको जनाएको हो।

प्रहरीका अनुसार राना लामो समयदेखि अदालतको फैसला कार्यान्वयनबाट बच्दै फरार अवस्थामा रहेका थिए। उनीविरुद्ध बाँके जिल्ला अदालतले फरक–फरक समयमा बैंकिङ कसुर र चेक अनादर मुद्दामा कैद तथा जरिबाना सजाय सुनाएको थियो। अदालतको आदेशपछि प्रहरीले उनको खोजी तीव्र बनाएसँगै सोमबार पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक रामनारायण गुप्ताका अनुसार २०८१ माघ २८ गते बैंकिङ कसुर मुद्दामा रानालाई दुई महिना कैद सजायसँगै एक करोड ३० लाख रुपैयाँ जरिबाना तोकिएको थियो। त्यसपछि २०८२ वैशाख ८ गते अर्को बैंकिङ कसुर मुद्दामा थप ९ दिन कैद र १६ लाख ५० हजार रुपैयाँ जरिबाना फैसला भएको थियो।

त्यसैगरी २०८२ जेठ २० गते चेक अनादर मुद्दामा उनलाई थप दुई वर्ष कैद सजाय सुनाइएको प्रहरीले जनाएको छ। लगातार विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएपछि उनी फरार सूचीमा रहेका थिए।

प्रहरीले विशेष सूचनाका आधारमा खोजी अभियान सञ्चालन गरी उनलाई कोहलपुर क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर उनलाई बाँके जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ।

पाकिस्तानले गर्यो ट्रम्पको ‘अब्राहम सम्झौता’ प्रस्ताव अस्वीकार

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित शान्ति सम्झौतासँगै पाकिस्तानसहित मुस्लिम तथा अरब राष्ट्रहरूलाई ‘अब्राहम सम्झौता’ मा सहभागी हुन आह्वान गरेको केही घण्टामै पाकिस्तानले उक्त प्रस्ताव अस्वीकार गरेको छ।

पाकिस्तानले यस्तो पहल आफ्नो मौलिक राष्ट्रिय विचारधारा र ऐतिहासिक नीतिसँग मेल नखाने स्पष्ट पारेको हो।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाझिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने बताएका छन्। पाकिस्तानी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्ने अवधारणा पाकिस्तानका लागि स्वीकार्य नरहेको दोहोर्‍याए।

उनले अमेरिकी दबाब वा कूटनीतिक संकेतका आधारमा पाकिस्तानले आफ्नो ऐतिहासिक अडान परिवर्तन नगर्ने स्पष्ट पारे। आसिफले इजरायलसँग दीर्घकालीन विश्वासको सम्बन्ध निर्माण गर्न कठिन रहेको टिप्पणी गर्दै ‘जसको शब्दलाई एक दिन पनि विश्वास गर्न सकिँदैन, त्यस्तो पक्षसँग कसरी सहकार्य सम्भव हुन्छ ?’ भन्ने प्रश्न उठाए।

रक्षामन्त्री आसिफले पाकिस्तानको पासपोर्ट नीतिलाई पनि आफ्नो तर्कको आधार बनाए। उनका अनुसार पाकिस्तानको पासपोर्टमै इजरायललाई मान्यता नदिने नीति झल्किने व्यवस्था गरिएको छ।

उनले पाकिस्तानको आधिकारिक दस्तावेजमै इजरायलसम्बन्धी स्पष्ट अस्वीकार रहेको उल्लेख गर्दै यसले देशको दीर्घकालीन संस्थागत धारणा प्रतिबिम्बित गर्ने बताए।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरानसँगको सम्भावित सहमतिलाई मध्यपूर्वको व्यापक राजनीतिक पुनर्संरचनासँग जोड्दै धेरै मुस्लिम तथा अरब राष्ट्रहरूलाई अब्राहम सम्झौतामा सामेल हुन आग्रह गरेका थिए।

ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गर्दै साउदी अरेबिया, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन र बहराइनलगायत देशहरूलाई सामूहिक रूपमा सम्झौतामा हस्ताक्षर गर्न आह्वान गरेका थिए।

उनले प्रस्तावित सहमतिलाई मध्यपूर्वको इतिहासकै ‘महत्त्वपूर्ण कूटनीतिक मोड’ को रूपमा चित्रण गर्दै यसले क्षेत्रीय स्थायित्व, आर्थिक सहकार्य र सुरक्षा सन्तुलनमा नयाँ अध्याय सुरु गर्न सक्ने दाबी गरे।

ट्रम्पका अनुसार यदि इरानसँग सहमति सम्पन्न भयो भने साउदी अरेबिया र कतार तुरुन्तै अब्राहम सम्झौतामा सहभागी हुन सक्नेछन्। उनले भविष्यमा इरान स्वयं पनि यही ढाँचामा समावेश हुन सक्ने सम्भावना औँल्याएका छन्।

अब्राहम सम्झौता सन् २०२० मा अमेरिकी मध्यस्थतामा सुरु गरिएको पहल हो, जसअन्तर्गत इजरायल र केही अरब राष्ट्रहरूबीच कूटनीतिक, आर्थिक तथा सुरक्षा सम्बन्ध सामान्यीकरण गर्ने प्रयास गरिएको थियो।

संयुक्त अरब इमिरेट्स, बहराइन, मोरक्को र सुडान यस पहलमा सहभागी भइसकेका छन्।

तर पाकिस्तानले सार्वजनिक रूपमा विरोध जनाएपछि मुस्लिम विश्वका सबै राष्ट्रलाई एउटै कूटनीतिक ढाँचामा ल्याउने अमेरिकी प्रयासले नयाँ राजनीतिक चुनौती सामना गर्नुपर्ने संकेत देखिएको छ।

पाकिस्तानको पछिल्लो प्रतिक्रियाले इजरायलसँग सम्बन्ध सामान्यीकरणको विषय अझै पनि मुस्लिम विश्वमा अत्यन्त संवेदनशील र विभाजित मुद्दा रहेको देखाएको विश्लेषकहरूको भनाइ छ।

मंगल ग्रहबारे थाहा पाउँदा दिमाग चकित पार्ने तथ्यहरू

काठमाडौं। सौर्यमण्डलको रहस्यमयी ग्रहहरूको चर्चा हुँदा मंगल ग्रहको नाम पहिलो पंक्तिमा पर्दछ। रातो र सुन्तलाजस्तो देखिने यो ग्रह बाहिरी रूपमा मात्रै होइन, भित्री संरचना, वातावरणीय बनावट र भू-आकृतिका कारणले पनि वैज्ञानिकहरूलाई सतत् चकित पारिरहेको छ।

मंगल ग्रहको सतह सुन्तलागहुँजस्तो देखिनु यसको माटोमा रहेको अत्यधिक आइरन अक्साइड (रातो जंग)का कणहरूका कारण हो। यही तत्वका कारण मंगललाई प्रायः ‘रेड प्लानेट’ पनि भनिन्छ।

मंगल ग्रह पृथ्वीको आधाभन्दा कम आकार र दशौँ भागजति मात्रै द्रव्यमान भएको ग्रह हो। त्यसैले यसको गुरुत्वाकर्षण अत्यन्त कमजोर हुन्छ। कमजोर गुरुत्वाकर्षणले वातावरणका ग्यासलाई ग्रहको सतहमा राख्न सक्दैन, जसका कारण मंगल लामो समयमै आफ्नो घना वायुमण्डल गुमाइसकेको मानिन्छ।

‘सौर्यमण्डलको सबैभन्दा ठूलो पर्वतको घर’- मंगल ग्रहको अर्को अद्भुत विशेषता हो । ओलिम्पस मोन्स नामक यो ज्वालामुखी पहाड करिब २२ किलोमिटर उचाइको छ, जुन माउन्ट एभरेस्टभन्दा पनि तीन गुणा अग्लो छ। यसको विशालता यति ठूलो छ कि यसलाई अन्तरिक्षबाट नै सजिलै देख्न सकिन्छ।

त्यसैगरी मंगलमा अवस्थित भालेस मरिनेरिस नामक गर्त संसारकै सबैभन्दा विशाल दह्रो उपत्यकामध्ये एक हो। यसको गहिराइ करिब ४ माइलसम्म पुग्छ, जुन पृथ्वीको कुनै पनि प्राकृतिक उपत्यकाभन्दा गहिरो हुन्छ। यदि यो पृथ्वीमा हुन्थ्यो भने अमेरिकाको एक किनाराबाट अर्को किनारासम्म फैलिन्थ्यो।

मंगल सतहका सबै भाग सुन्तला र रातो हुँदैनन्। मंगलमा  नीला-नीला देखिने वालुवा टीकराहरू पनि पाइन्छन्। यी वास्तवमा वैज्ञानिकहरूले रंग उभारेर तयार पारेका तस्वीरहरू भए पनि सतहमा रहेका विभिन्न खालका बालुवीय संरचनाले ती फरक देखिने रंगहरूलाई जीवन्त देखाइदिन्छन्।

वैज्ञानिकहरूले हालै पत्ता लगाएको एउटा महत्वपूर्ण तथ्य के हो भने मंगलको उच्च वायुमण्डलमा पुग्ने पानीका अणुहरूले हाइड्रोजन अन्तरिक्षमा पलायन हुने प्रक्रिया बढाइरहेका छन्। सूर्यका किरणको तीव्रता, मंगलको दीर्घवृत्ताकार कक्ष, ऋतु परिवर्तन र सूर्यका ११ वर्षे चक्रले यसमा महत्वपूर्ण भूमिका खेल्ने मानिन्छ।

मंगलका दुई साना चन्द्रमाहरू छन्,- फोबोस र डिमोस। यी दुवै चन्द्रमा आकारमा निकै साना भएकाले गोलाकार देखिँदैनन्। फोबोस करिब २२ किलोमिटर, डिमोस करिब १२ किलोमिटर व्यासको मात्र हुन्छन्।

मंगलको दिन लम्बाइ पनि पृथ्वीभन्दा धेरै फरक छैन। पृथ्वीको एक दिन करिब २४ घण्टा भएजस्तै, मंगलको एक दिन २४ घण्टा ३७ मिनेट २२ सेकेन्ड हुन्छ। मानिसहरूलाई अँध्यारोमा राख्दा शरीरको जैविक घडी २४ घण्टाभन्दा बढेर मंगलको दिनसँग मिल्दोजुल्दो हुने अनुसन्धानहरूले देखाएका छन्, जुन अचम्मको कुरा हो।

मंगलको वायुमण्डलमा मिथेन पाइएकाले पनि वैज्ञानिकहरू उत्साहित छन्। मिथेन प्राकृतिक रूपमा जैविक वा भू-भौगोलिक प्रक्रियाबाट बन्न सक्छ, त्यसैले यसको वास्तविक स्रोत अझै रहस्यमय छ।

मंगल ग्रह पनि पृथ्वी जस्तै ढल्किएको कक्षमा घुम्छ। पृथ्वीको अक्षीय झुकाव २३ डिग्री भएजस्तै मंगलको २५ डिग्री ढल्काइका कारण त्यहाँ पनि ऋतु परिवर्तन हुने गर्छ।

कांग्रेसमा किचलो : देउवा बेपत्ता

काठमाडौं। जेनजी आन्दोलनमा युवाहरुले घर घेरेर हातपात गरेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा फागुन २१ मा हुने भनिएको चुनावको ठीकअघि उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका हुन्। तर देउवा अझैसम्म स्वदेश नफर्किएको विषयले नेपाली राजनीतिक वृत्त तरङ्गित बनेको छ । 

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरता, पार्टीभित्रको शक्ति संघर्ष र कानुनी-राजनीतिक दबाबबीच देउवा दम्पती लामो समय विदेशमा रहेकै कारण कांग्रेसभित्र नयाँ समीकरण बनेको चर्चा समेत हुने गरेको छ।

फागुन १४ गते सिङ्गापुर पुगेका देउवा फलोअप उपचारका लागि विदेश गएको बताइए पनि त्यसयता उनी नेपाल नफर्किँदा राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका छन् । सिङ्गापुरपछि उनी हङकङ गएको र पूर्वपरराष्ट्रमन्त्री तथा पत्नी आरजु राणा पनि त्यहाँ पुगेको विवरण सार्वजनिक भएको छ । करिब तीन महिना बितिसक्दा पनि उनीहरूको स्वदेश फिर्तीबारे ठोस संकेत नदेखिएको छैन। 

यसैबीच, देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको र रेड कर्नर नोटिसका लागि इन्टरपोललाई पत्राचार गरिएको चर्चा पनि राजनीतिक बहसको केन्द्र बन्यो । यद्यपि इन्टरपोलले प्रक्रिया नमिलेको कारण देखाउँदै तत्काल रेड कर्नर नोटिस जारी नगरेको दाबी गरेको छ।

साथै, देउवा पक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गर्दै जारी पक्राउ पुर्जी कानुनी रूपमा त्रुटिपूर्ण भएको जिकिर गरेको बताइएको छ । उनीहरूको दाबी अनुसार विशेष अदालतले हेर्नुपर्ने विषयमा जिल्ला अदालतबाट आदेश जारी भएको भन्दै त्यसलाई खारेज गर्न माग गरिएको छ । 

जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सत्ता ढलेको र राज्यका प्रमुख संरचनामा समेत क्षति पुगेको घटनाले नेपाली राजनीतिमा ठूलो परिवर्तन ल्याएको भनाइ विश्लेषकहरूको छ। आन्दोलनपछि नेपाली कांग्रेसभित्र पनि नेतृत्व र वैचारिक दिशामा गम्भीर विवाद चर्कियो। 

विशेष महाधिवेशनपछि पार्टी नेतृत्व गगन थापा पक्षले कब्जा गरेको घटनाले देउवा समूहलाई थप दबाबमा पारेको चर्चा छ । तत्कालिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विवाद समाधान गर्न नसकेको र विशेष महाधिवेशन पक्षधरले आवश्यक हस्ताक्षर संकलन गरेर नेतृत्व परिवर्तनको बाटो खोलेको दाबी गरिन्छ ।

त्यसपछि देउवा समूहले एमालेसँग मिलेर संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालत पुगेको, तर अदालतबाट अपेक्षित निर्णय नआएपछि शक्ति सन्तुलन गगन-थापा पक्षतर्फ गएको हो।

निर्वाचन आयोग र अदालतका निर्णयपछि कांग्रेसभित्र नयाँ नेतृत्व संरचना वैध रूपमा स्थापित भएको र देउवा सभापति पदबाट बाहिरिएको चर्चा पनि राजनीतिक वृत्तमा छ । यससँगै पार्टीभित्र संस्थापन र असन्तुष्ट पक्षबीच दूरी झनै बढेको विश्लेषकहरु बताउँछन्।

निर्वाचनको मुखैमा देखिएको आन्तरिक द्वन्द्व, नेतृत्व विवाद र देउवा दम्पतीको विदेश बसाइका कारण कांग्रेसले अपेक्षित नतिजा ल्याउन नसकेको विश्लेषण पनि गरिएको छ । पार्टीभित्रको असहयोग र असन्तुष्ट समूहको निष्क्रियताले मत परिणाममा असर परेको भनाइ छ।

विश्लेषकहरूको अनुसार, नेतृत्व विवादका कारण संगठनात्मक संरचना कमजोर हुँदा मतदातामा समेत अन्योल देखिएको थियो । यही अवस्थालाई केहीले कांग्रेसको ऐतिहासिक कमजोर प्रदर्शनसँग जोडेर हेरेका छन् ।

देउवा पक्षले विभिन्न प्रदेशस्तरीय भेला तथा आन्तरिक छलफल बढाएको बताइन्छ । केही नेताहरूले छुट्टै राजनीतिक संरचना निर्माण गर्ने सम्भावनाबारे समेत छलफल गरेको चर्चा राजनीतिक वृत्तमा छ । यद्यपि आधिकारिक रूपमा नयाँ पार्टी गठनबारे कुनै निर्णय सार्वजनिक भएको छैन ।

संस्थापन पक्षले भने सातै प्रदेशमा संगठन सुदृढीकरण अभियान अघि बढाइरहेको दाबी गरिएको छ । क्रियाशील सदस्यता अद्यावधिकदेखि संगठन पुनर्संरचनासम्मका काम तीव्र रूपमा भइरहेको बताइन्छ।

यसैबीच, विवाद चुलिएको कांग्रेसमा एकता कायम राख्न नेता डा. शेखर कोइरालाले पाँच बुँदे प्रस्ताव अघि सारेका छन्। पार्टीभित्र बढ्दो ध्रुवीकरण अन्त्य गर्दै सहमतिका आधारमा अघि बढ्नुपर्ने धारणा राख्दै उनले नेतृत्वसमक्ष सुझाव दिएका हुन्।

उनले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक अनिवार्य नगर्ने र १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन गर्ने व्यवस्था गर्ने प्रस्ताव गरेका छन्।

साथै, १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिलाई समायोजन गरी एउटै बनाउने र कार्यसम्पादन समिति सभापतिको बहुमत हुने गरी गठन गर्ने उल्लेख गरेका छन्।

त्यसैगरी, निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति तथा अन्य समितिहरू आपसी सहमतिबाट मात्र गठन गर्ने व्यवस्था गर्ने प्रस्तावसमेत गरेका छन्।

अब देउवा दम्पत्ति नेपाल फर्किएर कांग्रेसभित्रको विवाद सुल्झाउलान् वा विदेशमै बस्लान् भन्ने कुरा भने समयले नै बताउने छ ।

प्रमुख विपक्षी नेता आङ्देम्बेको नेतृत्वमा याङ्वरक बाढीपहिरोबारे सभामुखको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे नेतृत्वको पाँचथर र ताप्लेजुङका सांसदहरूको टोलीले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याललाई भेटेर पाँचथरको याङ्वरक गाउँपालिकामा बेमौसमी वर्षापछि आएको बाढी–पहिरोबाट भएको क्षतिबारे ध्यानाकर्षण गराएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार पुगेको आङ्देम्बे नेतृत्वको टोलीले याङ्वरक गाउँपालिका–१ र २ नम्बर वडामा बाढी–पहिरोले ठूलो क्षति पुर्‍याएको भन्दै प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन, क्षतिग्रस्त संरचनाको शीघ्र पुनर्निर्माण गर्न तथा जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेको हो ।

नेता आङ्देम्बेले नागरिकको सुरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै सरकारलाई तत्काल प्रभावकारी रूपमा परिचालन गर्न सभामुखमार्फत ध्यानाकर्षण गराएका थिए ।

सभामुख अर्यालले बाढी पहिरोबाट प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गर्दै सरकारको ध्यानाकर्षण गराउने बताएको पाँचथरका कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले बताए ।

टोलीमा कांग्रेस संसदीय दलका नेता आङ्देम्बेसँगै कांग्रेसकै सांसद केरुङ, एमाले सांसद भूमिका नेम्बाङ सुब्बा, ताप्लेजुङका एमाले सांसद क्षितिज थेबेलगायत थिए ।

यही ८ वैशाखको राति बेमौसमी भारी वर्षापछि गएको बाढी र पहिरोले याङ्वरक गाउँपालिकाको वडा नम्बर १ (च्याङ्थापु) र २ (फलैँचा) को विभिन्न ठाउँमा ठूलो क्षति पुर्‍याएको थियो । यी दुई वडाको बढी प्रभावित क्षेत्र भने बिरुवा र दोभाने हो ।

नेता आङ्देम्बेका अनुसार बाढी–पहिरोले याङ्वरक–१ को महमलाल खवासको घर र वस्तुभाउ बगायो भने कविराज राईको घर बगाएको थियो ।

बलबहादुर खालिङको किचन बगाउँदा बिरुवा क्षेत्रका भगिमान बेघा, गंगा बेघा र बालकुमार बेघाको घरमा समेत क्षति पुगेको उनले बताए ।

बाढी–पहिरोका कारण स्थानीय पूर्वाधार (पुल)मा समेत ठूलो क्षति पुगेको अर्का कांग्रेस सांसद केरुङले बताए । उनले भने, च्याङ्थापु–चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल बगाएको, च्याङ्थापु–एकराते र नाम्रेक–फलैंचा जोड्ने झोलुङ्गे पुलहरू जिर्ण बनेको तथा मध्यपहाडी लोकमार्ग अन्तर्गत दोभानेस्थित निर्माणाधीन पक्की पुल बगायो ।’

वनपाला–एकराते सिँचाइ योजना पूर्ण रूपमा बगाएको र हिलिहाङस्थित निर्माणाधीन लिम्बुनी पुलमा समेत क्षति पुगेको र कृषि क्षेत्रमा पनि ठूलो क्षति पुगेको बताए ।

सांसदहरूका अनुसार याङ्वरक–१ र २ का अधिकांश कृषकको खेतबारी तथा अलैंची बारीमा करोडौं रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवालाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चको अन्तरिम आदेशसँगै सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोगमा पक्राउ गर्न देउवा दम्पतीलाई नमिल्ने भएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको भन्दै सर्वोच्चले अध्यादेश जारी हुनुपुर्व काठमाडौं जिल्ला अदालतबाट २०८२ चैत १४ मा जारी पक्राउ पुर्जी स्वतस् निष्क्रिय हुने ठहर गरेको छ ।

उपचारको क्रममा बैंकक पुगेका देउवा अहिले हङकङ छन् । आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको, सम्पत्तिको स्रोत देखाउन मन्जुर रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरिएको थियो ।

सरकारले देउवाविरुद्ध रेडकर्नर नोटिस जारी गरेर इन्टरपोलमार्फत पक्राउ गर्ने तयारीसमेत गरेको थियो ।

मुकेश डंगोल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मितले जानकारी दिएका हुन्।

मन्त्रिपरिषद् बैठकका निर्णय [भिडियाे]

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका चार महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि निर्णयहरूको जानकारी दिएका हुन्।

उनका अनुसार मन्त्रिपरिषद्ले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै बैठकले अन्य तीन महत्वपूर्ण प्रशासनिक तथा नीतिगत निर्णयसमेत गरेको सरकारका प्रवक्ताले बताएका छन्।

यस्ता छन् बैठकका निर्णयहरू:

–नेपाल चीन जोड्ने विद्युत् प्रशारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतित्यूतर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने ।

–आर्थिक वर्ष ०८३/०८४ मा वर्षे धानबालीको न्युनतम समर्थन मूल्य मोटो धानको रु ३६६० प्रतिक्विन्टल र मध्यम धानको रु ३८६० प्रतिक्विन्टल तोक्न ।

–सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने ।

–नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने ।

भारत भ्रमणमा रविसँग को-को जाँदैछन् ? [भिडियो]

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रवि लामिछाने नेतृत्वमा रास्वपाको प्रतिनिधिमण्डल आगामी जेठ १८ मा भारत भ्रमणमा जाने निश्चित भएको छ । सभापति लामिछानेको नेतृत्वमा जाने टोलीले विभिन्न राजनीतिक भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।

लामिछानेसँग पार्टीका सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा, निकिता पौडेल तथा स्वकीय सचिव अविनाश आचार्य भारत जानेछन् ।

भारतीय जनता पार्टीको निमन्त्रणामा लामिछानेको टोली भारत जान लागेको बताइएको छ। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, कूटनीतिक अधिकारी तथा विभिन्न संस्थासँग भेटवार्ता हुने जनाइएको छ।

पछिलो समय नेपाल-भारत सम्बन्ध चिसिएको चर्चा हुँदै आएको छ। यही सेरोफेरोमा हुन् लागेको लामिछानेको भ्रमणले सम्बन्ध सुदृढ हुने अपेक्षा गरिएको छ।

२७ दशमलव ८५ अंकले बढ्यो नेप्से

काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २७.८५ अंक अर्थात् १ प्रतिशतले बढेर २७८६ अंकमा पुगेको छ। यो स्तर वैशाख १४ यताकै उच्च हो।

आज दिनभर बजार सकारात्मक रह्यो। परिसूचकसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कारोबार रकम पनि वैशाख १५ पछिकै उच्च रहेको छ।

आज २३५ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ। सबैभन्दा धेरै वृद्धि जलविद्युत् समूहमा देखिएको छ, जसको सूचक १.५० प्रतिशतले उकालो लागेको छ। यस्तै बैंकिङ ०.८५, विकास बैंक ०.६९, फाइनान्स ०.५७, होटल तथा पर्यटन १.०२, लगानी ०.७४, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.९९, निर्जीवन बीमा ०.९५, अन्य १.२३ तथा व्यापार समूह ०.३२ प्रतिशतले बढेका छन्।

फिर्के खोलामाथि बनेका संचरनामा महानगरको डोजर [तस्वीरहरू]

काठमाडौं। फिर्के खोलामाथि अनधिकृत रूपमा निर्माण गरिएका संरचनामा काठमाडौं महानगरपालिकाले आज पनि डोजर चलाउने भएको छ।

महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको हो।

महानगरका अनुसार आजको कारबाहीमा व्यक्तिगत र संस्थागत दुवै प्रकारका संरचना हटाइनेछन्। जसअनुसार व्यक्तिगततर्फ ३५ वटा स्थायी संरचना र ९७ वटा अस्थायी संरचना भत्काइने छन्।

त्यसैगरी संस्थागततर्फ १८ वटा स्थायी संरचना र १० वटा अस्थायी संरचना हटाइने तयारी गरिएको छ।

अन्तर्राष्ट्रिय तेल बजारमा कच्चा तेलको मूल्यमा करिब ५ प्रतिशत गिरावट

एजेन्सी। अमेरिका र इरानबीच शान्ति वार्ता अघि बढ्ने सम्भावनाबारे आएको समाचारपछि सोमबार अन्तर्राष्ट्रिय तेल बजारमा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ।

मध्यपूर्वमा तनाव कम हुने र आपूर्ति अवरोध घट्ने अपेक्षाले लगानीकर्ताहरूले ठूलो मात्रामा बिक्री गर्न थालेपछि बजारमा तत्कालै गिरावट देखिएको हो। कारोबारको क्रममा जुलाईमा आपूर्ति हुने अमेरिकी कच्चा तेल (WTI) एक समय प्रति ब्यारेल ५.३५ डलरले घटेर ९१.२५ डलरमा पुगेको थियो, जुन करिब साढे पाँच प्रतिशतको गिरावट हो।

त्यसैगरी, ब्रेन्ट क्रुड पनि ५.५७ डलरले घटेर ९७.९७ डलर प्रति ब्यारेलमा झरेको थियो, जसमा करिब ५.३८ प्रतिशतको कमी देखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँगको शान्ति सम्झौता धेरै हदसम्म नजिक पुगेको तर अन्तिम सहमतिका लागि अझै अमेरिका, इरान र क्षेत्रका अन्य देशबीच छलफल आवश्यक रहेको बताएका थिए। उनका अनुसार वार्तामा केही विषयमा सहमति भए पनि पूर्ण निष्कर्षमा पुग्न बाँकी छ।

प्रस्तावित योजनाअनुसार युद्धविराम विस्तार गर्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने, इरानलाई तेल बिक्री गर्न दिने र इरानको आणविक कार्यक्रमबारे विस्तृत वार्ता गर्ने विषय समेटिएको छ। यसले आपूर्ति मार्ग सहज हुने अपेक्षा बजारमा देखिएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले हर्मुज जलडमरूमध्य पुनः सञ्चालनतर्फ कदम चालेमा अमेरिका आणविक कार्यक्रमसम्बन्धी गम्भीर वार्तामा सहभागी हुन तयार रहने बताएका छन्।

यसैबीच, इरानको इस्लामिक क्रान्तिकारी गार्डले पछिल्लो २४ घण्टामा ३३ वटा जहाज हर्मुज जलडमरूमध्य पार गरेको जानकारी दिएको छ, जसले उक्त मार्ग आंशिक रूपमा सञ्चालनमा रहेको संकेत गर्छ।

ऊर्जा विश्लेषकहरूका अनुसार हालको भू-राजनीतिक अवस्था पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्नेछ। उत्पादन संरचनामा देखिएको क्षति, ढुवानी समस्या र केही क्षेत्रमा आपूर्ति अवरोध कायमै रहेकाले बजार पूर्ण रूपमा स्थिर हुन समय लाग्ने जनाइएको छ।

अमेरिकी प्रतिबन्धबीच ह्वावेको प्रविधि रणनीति तीव्र

एजेन्सी। चीनको प्रविधि कम्पनी ह्वावे टेक्नोलोजिजले आगामी पाँच वर्षभित्र आफ्ना उच्च-स्तरका चिपहरूमा १.४–नानोमिटर (१.४एनएम) प्रक्रिया बराबरको ट्रान्जिस्टर घनत्व हासिल गर्ने लक्ष्य सार्वजनिक गरेको छ।

यस घोषणाले उन्नत सेमिकन्डक्टर उत्पादनमा चीनमाथि लगाइएका अमेरिकी प्रतिबन्धहरूलाई चुनौती दिने बेइजिङको प्रयासलाई अझ बलियो बनाएको छ।

शाङ्हाईमा आयोजित सेमिकन्डक्टर सिम्पोजियममा प्रस्तुत गरिएको यो लक्ष्य विशेष रूपमा महत्वपूर्ण मानिएको छ, किनभने विश्वका अग्रणी चिप निर्माता कम्पनीहरू दशकको अन्त्यतिर मात्र १.४एनएम स्तरको प्रविधिमा ठूलो उत्पादन पुग्ने अपेक्षा गरिरहेका छन्।

तर ह्वावेले यस विषयमा कुनै स्वतन्त्र कार्यसम्पादन तथ्यांक सार्वजनिक गरेको छैन। विश्लेषकहरूका अनुसार चीन अझै पनि अत्याधुनिक लिथोग्राफी उपकरण र उच्चस्तरीय सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूभन्दा पछि रहेको छ, किनभने वाशिङटनले ती प्रविधिहरूको निर्यातमा कडा प्रतिबन्ध लगाएको छ।

यस क्षेत्रमा ताइवानको टीएसएमसी विश्वकै अग्रणी निर्माता हो, जसले हाल २-नानोमिटर उत्पादन प्रविधि प्रयोग गरिरहेको छ र सन् २०२८ सम्म १.४-नानोमिटर प्रक्रियामा ठूलो उत्पादन सुरु गर्ने योजना बनाएको छ।

ह्वावेले यस पटक केवल ट्रान्जिस्टर सानो बनाउने परम्परागत विधिभन्दा बाहिर गएर नयाँ सिद्धान्त पनि प्रस्तुत गरेको छ। कम्पनीले ‘टाउ स्केलिङ ल’ नामक अवधारणामा आधारित भएर चिप र कम्प्युटिङ प्रणालीमा डेटा तथा सिग्नल प्रवाह हुने समय घटाउने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार, यदि यो दृष्टिकोण सफल भयो भने अत्याधुनिक लिथोग्राफी उपकरणमा पहुँच सीमित भए पनि चिपको कार्यक्षमता र घनत्व दुवै सुधार गर्न सकिनेछ। यसलाई चीनले अमेरिकी प्रतिबन्धबीच आत्मनिर्भर प्रविधि विकास गर्ने प्रयासको रूपमा हेरिएको छ।

ह्वावेको एसेन्ड चिप श्रृंखला हाल चीनको एआई विकासमा महत्वपूर्ण बनेको छ। विशेषगरी डीपसीक जस्ता चिनियाँ एआई मोडलहरूलाई शक्ति प्रदान गर्न यी चिपहरूको प्रयोग बढ्दै गएको बताइन्छ।

कम्पनीले आगामी वर्ष सार्वजनिक हुने किरिन चिपहरूमा ‘लोजिकफोल्डिङ’ नामक नयाँ आर्किटेक्चर प्रयोग गर्ने पनि जनाएको छ। यस प्रविधिले चिपभित्रको वायरिङ छोटो बनाउने र कार्यसम्पादनमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।

ह्वावेका अनुसार, पछिल्लो ६ वर्षमा कम्पनीले ‘टाउ स्केलिङ ल’ अवधारणामा आधारित ३८१ भन्दा बढी चिप डिजाइन तथा उत्पादन गरिसकेको छ। यसले कम्पनीको दीर्घकालीन अनुसन्धान र उत्पादन क्षमतालाई देखाउने दाबी गरिएको छ।

उद्योग विश्लेषकहरूका अनुसार ह्वावेले अब परम्परागत नोड-आधारित स्केलिङभन्दा प्रणालीस्तरको दक्षता बढाउने रणनीति अपनाइरहेको छ। यसले चिपभित्रको डेटा प्रवाहलाई छिटो बनाउने र कार्यक्षमता सुधार गर्ने लक्ष्य राखेको छ।

ह्वावेलाई सन् २०१९ मा अमेरिकाले व्यापार कालोसूचीमा राखेपछि उसले उन्नत अमेरिकी प्रविधि, सफ्टवेयर र सेमिकन्डक्टर आपूर्तिमा पहुँच गुमाएको थियो। त्यसपछि कम्पनीले आफ्नो चिप व्यवसायलाई ‘बाँच्ने रणनीति’का रूपमा विकास गर्दै आएको छ।

सन् २०२३ मा ह्वावेले ७-नानोमिटर प्रविधिमा आधारित मेट ६० स्मार्टफोन सार्वजनिक गर्दै आश्चर्यजनक पुनरागमन गरेको थियो। यसमा चीनको सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्पोरेसन (SMIC) ले उत्पादन गरेको चिप प्रयोग गरिएको थियो।

हाल ह्वावेले सार्वजनिक गरेको नयाँ रणनीतिपछि एसएमआईसीको सेयर पनि ७.६ प्रतिशतले बढेको बताइएको छ। जसले बजारमा यसको प्रभाव देखाएको छ।

यद्यपि विज्ञहरूले चीनले प्रगति गरिरहेको स्वीकार गरे पनि अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा विश्वव्यापी अग्रणी देशहरू अझै पनि धेरै अगाडि रहेको निष्कर्ष निकाल्दै आएका छन्।

४ खर्ब ४७ अर्ब लगानीको प्रस्तावमा ६५४ उद्योग दर्ता

काठमाडौं । चालु आर्थिक वर्षमा ६५४ वटा उद्योग दर्ता भएका छन्। उधोग विभागका अनुसार यस वर्ष स्वदेशी उद्योग दर्ताको दरमा उल्लेखनीय सुधार देखिएको हो। गत आर्थिक वर्षभरिमा ७०० उद्योग दर्ता भएकोमा चालु वर्ष सकिन अझै तीन महिना बाँकी रहँदा नै ६५४ उद्योग दर्ता भइसकेका छन्।

विभागका अनुसार दर्ता भएका यी उद्योगहरूको प्रस्तावित लगानी ४ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। उद्योग सञ्चालनमा आएपछि ३३ हजार १६८ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको विभागले जनाएको छ।

हालसम्म विभागमा दर्ता भएका उद्योगको संख्या ११ हजार १० पुगेको छ। ती उद्योगहरूको कुल प्रस्तावित लगानी ३७ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ भने प्रस्तावित रोजगारी संख्या ७ लाख ८५ हजार पुगेको विभागको तथ्यांकमा उल्लेख छ।

यद्यपि, दर्ता भएका उद्योगमध्ये कति उद्योग सञ्चालनमा छन्, कति लगानी कार्यान्वयन भएको छ तथा कति रोजगारी सिर्जना भएको छ भन्ने तथ्यांक भने अद्यावधिक नभएको विभागका अधिकारीहरूले बताएका छन्।

दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर

वीरगञ्ज। मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमामा मुद्दा दायर गरिएको छ। अदालतका सूचना अधिकारी जयनारायण यादवका अनुसार सोमबार अभियोगपत्र दर्ता गरिएको हो।

यादवका अनुसार गोला तानिसकेपछि दिउँसो मात्रै अभियोगपत्र अदालतमा पुगेकाले अब उक्त मुद्दामाथि मंगलबार सुनुवाइ हुने भएको छ।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार सम्बन्धी कसुर तथा राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दायर गरिएको अदालतले जनाएको छ।

हाल प्रसाईं प्रहरी हिरासतमा रहेका छन्। उनलाई अघिल्लो साता वीरगञ्जबाट पक्राउ गरिएको थियो।

ईपीएसमार्फत कोरिया जान प्रतीक्षारत युवाहरूको प्रदर्शन [तस्वीरहरू]

काठमाडौं। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा तथा आवश्यक प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान प्रतीक्षारत नेपाली युवाहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूले ‘पास गरेकोलाई कोरिया पठाऊ’, ‘रोजगारको अधिकार सुनिश्चित गर’ लगायतका नारा लगाउँदै सरकारसँग तत्काल पहल गर्न माग गरेका हुन्।

प्रदर्शनमा सहभागी युवाहरूका अनुसार ईपीएस परीक्षा उत्तीर्ण गरेपछि पनि हजारौं युवा लामो समयदेखि रोजगारका लागि कोरिया जान प्रतीक्षामा छन्। कोरियाली रोजगारदाताबाट ‘रोस्टर’ मा नाम परे पनि श्रम सम्झौता (लेबर कन्ट्र्याक्ट) नआउनु, सीमित श्रम कोटा, तथा प्रक्रियागत ढिलाइका कारण उनीहरू विदेश जान नसकेको गुनासो छ।

उनीहरूले कोभिड-१९ महामारीपछिको असर, नेपाल-कोरिया श्रम आपूर्ति प्रक्रियामा देखिएको प्रशासनिक जटिलता र रोजगार प्रणालीको अनिश्चितताका कारण आफूहरू अन्योलमा परेको बताएका छन्।

प्रदर्शनकारी युवाहरूले भाषा परीक्षा उत्तीर्ण गर्न वर्षौं समय खर्चिएको, तयारी तथा तालिममा ठूलो रकम लगानी गरेको भए पनि रोजगारीको अवसर नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

उनीहरूको मागमा प्रक्रिया पारदर्शी बनाउन, श्रम कोटा बढाउन र छिटो कोरिया पठाउने व्यवस्था गर्नुपर्ने विषय समावेश छ। साथै, सरकारले दीर्घ प्रतीक्षामा रहेका ईपीएस उत्तीर्ण युवाहरूको समस्या समाधान गर्न ठोस कदम चाल्नुपर्ने उनीहरूको जोड छ।

तस्वीरहरू:

इरानसँगको युद्ध अन्त्यतर्फ सम्झौताको सम्भावना अझै जीवित छ : अमेरिकी विदेशमन्त्री रुबियो

एजेन्सी। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको तनाव र सम्भावित युद्ध अन्त्यतर्फ लक्षित सम्झौता अझै सोमबारसम्म पनि सम्भव रहेको संकेत दिएका छन्। उनले वार्ताबाट सकारात्मक परिणाम निस्किन सक्ने विश्वास व्यक्त गर्दै कूटनीतिक प्रयास जारी रहेको बताएका छन्।

भारत भ्रमणका क्रममा नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले सम्भावित सम्झौताबारे अपेक्षा अझै समाप्त नभएको स्पष्ट पारे। उनका अनुसार अमेरिकाले आइतबार रातिसम्म केही प्रगति हुने अनुमान गरे पनि समय लम्बिँदैमा नकारात्मक निष्कर्ष निकाल्न नहुने अवस्था छ। उनले केही नतिजा सोमबारसम्म पनि आउन सक्ने सम्भावना रहेको उल्लेख गर्दै अहिले नै अन्तिम निष्कर्ष निकाल्न हतार गर्न नहुने बताए।

वार्ताको मुख्य विषय समुद्री मार्गहरूको सञ्चालन र सुरक्षा रहेको उनले संकेत गरे। रुबियोका अनुसार यस विषयमा टेबलमा पर्याप्त ठोस प्रस्तावहरू रहेका छन्, जसले क्षेत्रीय स्थायित्व कायम गर्न सहयोग पुर्‍याउन सक्छ। उनले खाडी क्षेत्रका धेरै देशहरूले प्रस्तावित पहललाई समर्थन गरेको दाबी पनि गरे।

उनका अनुसार अमेरिकासँगको संवादमा सहभागी धेरै मुलुकहरूले यस पहललाई व्यवहारिक र अन्तर्राष्ट्रिय सुरक्षाका लागि आवश्यक कदमका रूपमा लिएका छन्। यसले मध्यपूर्वमा बढ्दो तनाव कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

रुबियोको यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताकारहरूलाई ‘हतार नगर्न’ निर्देशन दिएको पृष्ठभूमिमा आएको हो। ट्रम्पले कुनै पनि हालतमा कमजोर वा असन्तुलित सम्झौतामा सहमति नजनाउने स्पष्ट सन्देश दिएको बताइएको छ।

विदेशमन्त्री रुबियोले राष्ट्रपति ट्रम्प वार्तामा कडा र सर्तसहितको दृष्टिकोण राख्ने व्यक्ति भएको उल्लेख गर्दै उनी नराम्रो सम्झौता स्वीकार नगर्ने बताए। उनका अनुसार इरान आणविक कार्यक्रमसम्बन्धी विषयमा गम्भीर, अर्थपूर्ण र समयसीमाभित्र हुने वार्तामा सहभागी हुने अपेक्षा गरिएको छ।

क्षेत्रीय सुरक्षाबारे टिप्पणी गर्दै रुबियोले इजरायललाई आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार सधैँ रहने स्पष्ट पारे। यदि हिजबुल्लाह वा अन्य समूहबाट क्षेप्यास्त्र आक्रमणको खतरा देखिएमा इजरायलसँग प्रतिकार वा रोकथाम गर्ने अधिकार रहने र यो कुरा युद्धविरामको अवधिमा पनि लागू हुने उनको भनाइ छ।

तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं। तनहुँमा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ। यो आयोजना अर्धजलाशययुक्त (रन–अफ–रिभर र केही जलाशययुक्त मिश्रण) प्रकृतिको हुनेछ।

आयोजना प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उक्त परियोजना एसियाली विकास बैंक (एडिबी)को वित्तीय सहयोगमा निर्माण गरिनेछ। कुल २२७ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजनामा ३० प्रतिशत स्वपुँजी (इक्विटी) र ७० प्रतिशत ऋण लगानी रहनेछ।

आयोजनाको संरचनागत विवरणअनुसार बाँध तनहुँको बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ मा निर्माण हुनेछ। त्यस्तै, विद्युत् गृह, कर्मचारी आवास र मुख्य सुरुङ (टनेल) देवघाट गाउँपालिका–३ र ४ क्षेत्रमा रहनेछन्।

आयोजना प्रमुख श्रेष्ठले विद्युत् गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन्।

यो आयोजना सम्पन्न भएपछि देशको विद्युत् उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ। साथै, आन्तरिक माग पूरा गर्न र निर्यात सम्भावना बढाउन पनि यसले सहयोग गर्ने विश्वास लिइएको छ।

‘भास्कुलाइटिस’ के हो ?

काठमाडौं। शरीरमा नसासम्बन्धी समस्या देखिएर जीउ दुख्ने, हातखुट्टा झमझम हुने हुन्छ,त्यसलाई सामान्य रूपमा ‘नसा बाथ’ भनेर बुझ्ने गरिन्छ। तर यस्ता लक्षण सबै अवस्थामा एउटै रोगसँग सम्बन्धित हुँदैनन्। खुट्टामा देखिने फुलेका निला नसाहरू प्रायः ‘वेरिकोज भेन्स’ हुन्, जुन रगतलाई मुटुतर्फ फर्काउने नसाहरू कमजोर हुँदा देखिने सामान्य समस्या हो। यसभन्दा फरक, भास्कुलाइटिस भने रक्तनलीमा हुने सुजनसँग सम्बन्धित गम्भीर रोग हो। जसलाई नेपालीमा रक्तनलीको सुजन समेत भनिन्छ।

भास्कुलाइटिस एक प्रकारको अटोइम्युन रोग हो। जसमा शरीरको प्रतिरक्षा प्रणालीले गल्तीवश आफ्नै रक्तनलीमाथि आक्रमण गर्न थाल्छ। सामान्य अवस्थामा यो प्रणालीले शरीरलाई कीटाणु र रोगबाट जोगाउने काम गर्छ। तर सन्तुलन बिग्रिएपछि शरीरकै स्वस्थ भागलाई ‘शत्रु’ ठानेर आक्रमण हुन सक्छ। यही प्रक्रियाले रक्तनली सुन्निने समस्या पैदा गर्छ। जसले शरीरका विभिन्न अङ्गमा असर पुर्‍याउन सक्छ।

रक्तनली सुन्निँदा तीन प्रमुख खतरनाक अवस्था सिर्जना हुन सक्छ। पहिलो, रक्तनली साँघुरो हुन्छ र सम्बन्धित भागमा रगत कम पुग्छ।  जसले अङ्ग कमजोर बनाउँछ। दोस्रो, रक्तनली पूरै बन्द हुन सक्छ। जसले अक्सिजन आपूर्ति रोकिन्छ र अङ्ग क्षति हुन थाल्छ। तेस्रो, रक्तनली कमजोर भएर फुट्न सक्छ। जसले शरीरभित्रै रक्तस्राव गराउन सक्छ। यी तीनै अवस्था गम्भीर भएकाले भास्कुलाइटिसलाई समयमै पहिचान गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ।

यस रोगको कारण धेरैजसो अवस्थामा स्पष्ट रूपमा पत्ता लाग्दैन। शरीरको प्रतिरक्षा प्रणाली किन असन्तुलित हुन्छ भन्ने कुरा अझै पूर्ण रूपमा बुझिएको छैन। यद्यपि केही संक्रमणहरू (जस्तै हेपाटाइटिस बी वा सी), केही औषधिहरूको प्रतिक्रिया, र दुर्लभ अवस्थामा क्यान्सरसँगको सम्बन्धले यो रोगलाई उत्प्रेरित गर्न सक्छ। कहिलेकाहीँ संक्रमण वा खोपपछि पनि यो देखिएको रिपोर्ट भए पनि यस्ता घटना अत्यन्तै दुर्लभ हुन्छन्। र खोपको फाइदा यसको जोखिमभन्दा धेरै बढी हुन्छ।

भास्कुलाइटिसका लक्षणहरू रक्तनलीको आकार र प्रभावित भागअनुसार फरक हुन्छन्। साना रक्तनलीमा हुने सुजनमा छालामा रातो दाग वा थोप्ला देखिन सक्छ। जुन दबाउँदा हराउँदैन। फोक्सो प्रभावित भएमा लगातार खोकी लाग्ने, सास फेर्न गाह्रो हुने वा खकारमा रगत देखिन सक्छ। मिर्गौला प्रभावित हुँदा पिसाबमा रगत वा फिँज देखिन सक्छ, जुन समयमै उपचार नभए गम्भीर बन्न सक्छ। बालबालिकामा देखिने एक प्रकार प्रायः आफैं निको हुने भए पनि वयस्कमा देखिएमा बढी गम्भीर हुन सक्छ।

मध्यम आकारका रक्तनली प्रभावित हुँदा लामो समयसम्म ज्वरो आउने, शरीर कमजोर हुने, तौल घट्ने, छालामा गिर्खा वा घाउ बन्ने जस्ता लक्षण देखिन्छन्। केही अवस्थामा औँलामा रगत नपुगेर कालो हुने र अङ्ग सुक्ने अवस्थासमेत आउन सक्छ, जसलाई ग्याङ्ग्रिन भनिन्छ।

ठूला रक्तनलीमा हुने भास्कुलाइटिस प्रायः ५० वर्षभन्दा माथिका व्यक्तिमा देखिन्छ। यस अवस्थामा कन्चटतिर टाउको दुख्ने, कपाल कोर्दा वा छाला छुँदा दुख्ने, बङ्गारा चपाउँदा दुख्ने जस्ता लक्षण देखिन्छन्। सबैभन्दा गम्भीर अवस्था भने अचानक आँखा धमिलो हुने वा दृष्टि गुम्ने हो, जुन आपत्कालीन अवस्था हो र तुरुन्त उपचार नभए स्थायी अन्धोपन हुन सक्छ।

भास्कुलाइटिस पत्ता लगाउन डाक्टरले विभिन्न परीक्षणहरूको सहारा लिन्छन्। रगत परीक्षणमार्फत शरीरमा सुजन छ कि छैन भन्ने बुझिन्छ। मिर्गौला र कलेजोको परीक्षणले कुन अङ्ग प्रभावित भएको छ भन्ने देखाउँछ। केही अवस्थामा बायोप्सी गरेर प्रभावित भागको सानो टुक्रा परीक्षण गरिन्छ। त्यसैगरी एन्जियोग्राम जस्ता इमेजिङ परीक्षणले रक्तनली साँघुरिएको वा बन्द भएको अवस्था पत्ता लगाउन मद्दत गर्छ।

यो रोगको उपचार समयमै सुरु भए नियन्त्रण गर्न सकिन्छ, यद्यपि पूर्ण रूपमा निको नहुन पनि सक्छ। स्टेरोइड औषधिले सुजन घटाउन मद्दत गर्छ भने इम्युनोसप्रेसिभ औषधिले प्रतिरक्षा प्रणालीलाई नियन्त्रणमा राख्छ। केही विशेष अवस्थामा बायोलोजिक औषधिको प्रयोग पनि गरिन्छ। तर बिरामीले आफैं औषधि परिवर्तन गर्नु वा अचानक रोक्नु निकै खतरनाक हुन सक्छ।

नेपालमा सामान्य रूपमा जीउ दुख्ने बित्तिकै डाक्टरको सल्लाहबिना पेनकिलर खाने चलन छ। तर भास्कुलाइटिस जस्तो रोगमा यो अभ्यास जोखिमपूर्ण हुन्छ। पेनकिलरले केवल अस्थायी रूपमा दुखाइ कम गर्छ। तर रोगलाई नियन्त्रण गर्दैन। उल्टो भित्रभित्रै समस्या बढाउन सक्छ र मिर्गौला वा पेटमा असर गर्न सक्छ। त्यसैले चिकित्सकको सल्लाहबिना औषधि प्रयोग गर्नु हुँदैन।

यस रोगमा औषधिसँगै फिजियोथेरापी पनि उपयोगी हुन्छ। जसले मांसपेशी बलियो बनाउन र जोर्नीको चलायमानता कायम राख्न मद्दत गर्छ। साथै बिरामीको मानसिक स्वास्थ्यमा पनि ठूलो प्रभाव पर्ने भएकाले परिवारको साथ, हौसला र सकारात्मक वातावरण अत्यन्त महत्वपूर्ण हुन्छ।

नेपालमा भास्कुलाइटिसको उपचार मुख्यतः काठमाडौंका ठूला अस्पतालहरूमा उपलब्ध छ। जहाँ रुमाटोलोजिस्ट अर्थात् बाथ तथा रक्तनली रोग विशेषज्ञले उपचार गर्छन्। समयमै विशेषज्ञकहाँ पुग्न सकिए धेरै जटिलता रोक्न सकिन्छ।

भास्कुलाइटिस डर लाग्दो रोग भए पनि समयमै पहिचान र सही उपचार भए यसलाई नियन्त्रणमा राख्न सकिन्छ। लक्षण देखिएपछि झारफुक वा घरेलु उपचारमा अल्झिनु भन्दा तुरुन्त चिकित्सकको सल्लाह लिनु नै सबैभन्दा सुरक्षित र बुद्धिमानी हुन्छ।

बालेनको युट्युबमा ‘काँधमाथि ज्ञानेन्द्र राजालाई’ भन्ने गीत भेटिएपछि…

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को आधिकारिक युट्युब च्यानलमा ‘शिरमाथि नेपाल आमा, काँधमाथि ज्ञानेन्द्र राजालाई’ बोलको गीत देखिएपछि  अहिले व्यापक बहस छेडिएको छ । शाहको आधिकारिक युट्युब च्यानलमा उक्त्त गीत भेट्टिएसँगै धेरै प्रयोगकर्ताले त्यसलाई राजनीतिक रूप प्रधानमन्त्री बालेनमा ‘राजावादी’ भएको व्याख्या गर्न थालेका छन् । 

कतिपयले प्रधानमन्त्री बालेनले राजतन्त्रप्रति सहानुभूति राखेको टिप्पणी गरेका छन् भने कतिपयले उनको युट्युब च्यानल ह्याक भएको आशंका समेत गरेका छन् । 

उक्त गीत फेब्रुअरी २० मा अपलोड भएको देखिन्छ । एआई प्रविधिबाट तयार पारिएको उक्त गीतमा पूर्वराजा शाहलाई समर्थन गरेको आशय झल्किने शब्द प्रयोग गरिएकाले सामाजिक सञ्जालमा यसबारे चासो झन् बढेको हो ।

राजतन्त्रपक्षधरहरुले भने प्रधानमन्त्रीले पुर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहको पक्षधरता जमाएको भन्दै समर्थन गरेका छन्। 

तर प्राविधिक रूपमा हेर्दा यो गीत बालेनले आफैँ अपलोड गरेको वा उनको च्यानल ह्याक भएको भन्ने निष्कर्षमा पुग्न सकिने अवस्था भने देखिँदैन । युट्युबको ‘अफिसियल आर्टिस्ट च्यानल’ प्रणालीका कारण यस्तो अवस्था सिर्जना भएको बुझिएको छ ।

‘अफिसियल आर्टिस्ट च्यानल’ के हो ?

बालेन राजनीतिमा आउनुअघि नै र्‍याप सङ्गीत क्षेत्रमा परिचित नाम थिए। उनी गायक, गीतकार तथा सङ्गीतकर्मीका रूपमा युट्युबमा सक्रिय रहँदै आएका थिए । यही कारण युट्युबले उनको च्यानललाई ‘अफिसियल आर्टिस्ट च्यानल’को मान्यता दिएको छ ।

यस्ता च्यानलमा सामान्य भिडियो मात्र नभई विभिन्न डिजिटल सङ्गीत प्लेटफर्ममार्फत सार्वजनिक भएका गीतहरू पनि स्वतः जोडिन सक्छन् । युट्युबले सन् २०२४ देखि ‘रिलिजेज’ नामको विशेष सुविधा विस्तार गरेको थियो।जुन अहिले नेपालका धेरै कलाकारका च्यानलमा पनि देखिन थालेको छ ।

यो फिचर विशेषगरी एल्बम, सिङ्गल गीत वा अडियो ट्र्याकका लागि प्रयोग हुन्छ । कुनै गीत ‘ट्युनकोर’, ‘डिस्ट्रोकिड’ वा अन्य डिजिटल म्युजिक डिस्ट्रिब्युटरमार्फत सार्वजनिक गरिँदा सम्बन्धित कलाकारको नाम उल्लेख भएको खण्डमा युट्युबको प्रणालीले त्यसलाई स्वतः सम्बन्धित च्यानलमा देखाउन सक्छ।

कसरी पुग्यो गीत बालेनको च्यानलमा ?

प्राविधिक रूपमा कुनै पनि व्यक्ति वा समूहले डिजिटल प्लेटफर्ममार्फत गीत वितरण गर्दा कलाकारको नाम ‘मेटाडाटा’मा राख्न सक्छ । यदि त्यहाँ बालेनको नाम वा च्यानलसँग सम्बन्धित विवरण समावेश गरिएको छ भने युट्युबको स्वचालित प्रणालीले उक्त सामग्रीलाई बालेनकै ‘रिलिजेज’ सेक्सनमा देखाउन सक्छ ।

यही कारणले उक्त गीत बालेनको च्यानलमा देखिएको हो । यसको अर्थ बालेनले व्यक्तिगत रूपमा भिडियो अपलोड गरेका हुन् भन्ने होइन ।

यसअघि पनि बालेनको च्यानलमा विभिन्न असम्बन्धित गीतहरू देखिएका थिए । ‘न आत्तिनु मेरी आमा’, ‘देउरालीमा बतास चल्यो’, ‘बाइरोडमा ड्राइभर हर्न बजाउँदै’, ‘अबकी बार बालेन सरकार’, ‘तर अन्तिम पल्ट’ लगायतका गीतहरू समेत स्वचालित प्रणालीमार्फत च्यानलमा जोडिएका थिए । र अहिलेपनि उनको च्यानलमा उक्त गीतहरु सुन्न सकिन्छ। 

सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पक्ष-विपक्षमा बहस सुरु भएको छ । केही प्रयोगकर्ताले प्रधानमन्त्रीको हैसियतमा यस्ता सामग्रीप्रति संवेदनशील हुनुपर्ने बताएका छन् । उनीहरूले च्यानल व्यवस्थापनमा थप सावधानी अपनाउनुपर्ने धारणा राखेका छन् ।

अर्कोतर्फ केहीले भने प्रविधिबारे पर्याप्त जानकारी नहुँदा अनावश्यक राजनीतिक अर्थ लगाइएको बताएका छन् । उनीहरूका अनुसार युट्युबको ‘आर्ट ट्र्याक’ प्रणालीबारे नबुझ्दा वा २०२४ युट्युबले ल्याएको ‘रिलिजेज’ नामको विशेष सुविधाको बारेमा थाहा नहुँदा भ्रम सिर्जना भएको हो।

ह्याक भएको हो  ?

कतिपयले च्यानल ह्याक भएको आशंका गरे पनि त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक भएको छैन । च्यानलको नियमित सामग्री, पुराना भिडियो तथा अन्य व्यवस्थापन पक्ष सामान्य अवस्थामै देखिएकाले ह्याकको सम्भावना कमजोर मानिएको छ ।

प्रविधि विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा एआईबाट बनाइएका गीत, डिजिटल वितरण प्रणाली र स्वचालित कन्टेन्ट म्याचिङका कारण यस्ता घटना विश्वभर देखिन थालेका छन् । विशेषगरी कलाकारको नाम प्रयोग गरेर बनाइएका ‘आर्ट ट्र्याक’ सामग्रीहरू सम्बन्धित च्यानलमा स्वतः देखिने समस्या अहिले धेरै कलाकारले भोगिरहेका छन् ।

यसरी हेर्दा बालेनको च्यानलमा देखिएको उक्त गीत राजनीतिक निर्णयभन्दा पनि युट्युबको स्वचालित डिजिटल सङ्गीत प्रणालीसँग जोडिएको प्राविधिक विषय भएको स्पष्ट देखिन्छ ।

प्रधानमन्त्री शाहसँग सम्बन्धित अनगिन्ती रहस्यहरू अझै पर्दामै छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’बाट निर्वाचित भएर सरकारमा पुगे पनि उनी कुन विचारधारा अवलम्बन गर्छन् भन्ने विषयमा जनमानसमा अझै अन्योल कायम छ । यद्यपि उनीसँग जोडिएका रहस्यका पर्दाहरू समयले नै उघार्नेछ ।

कंगोमा इबोला आतंक : ९०० भन्दा बढी संक्रमित, ११९ जनाको मृत्यु

काठमाडौं। अफ्रिकी देश कंगोमा इबोला भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। देशको पूर्वी भागमा देखिएको प्रकोपले अहिले गम्भीर रूप लिएको छ भने स्वास्थ्य अधिकारीहरू उच्च सतर्कतामा रहेका छन्।

कंगो सरकारका अनुसार हालसम्म इबोला संक्रमणका सम्भावित केसहरूको संख्या ९०० नाघिसकेको छ। एबीसी न्युजका अनुसार ९०४ वटा संक्रमणका केस पुष्टि वा आशंकित रूपमा दर्ता भएका छन्। यसैबीच, ११९ जनाको मृत्यु भइसकेको छ।

संक्रमणको अवस्था पहिलेको तुलनामा झनै चिन्ताजनक बन्दै गएको छ। यसअघि सार्वजनिक विवरणमा करिब ७०० भन्दा बढी केस र १७० भन्दा बढी मृत्यु भएको उल्लेख भए पनि पछिल्लो तथ्यांकले संक्रमणको फैलावट अझ व्यापक भएको देखाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यस प्रकोपलाई कंगोका लागि अत्यन्तै ठूलो स्वास्थ्य संकटका रूपमा मूल्याङ्कन गरेको छ। संक्रमण नियन्त्रणका प्रयासहरू जारी रहे पनि मृत्युदर र नयाँ केसहरूको वृद्धि रोक्न चुनौती बढ्दै गएको छ।

यद्यपि, विश्वव्यापी रूपमा संक्रमण फैलिने जोखिम तत्कालका लागि कम मानिएको छ। तर विभिन्न देशहरूले आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गर्दै यात्रा तथा स्वास्थ्यसम्बन्धी एड्भाइजरी जारी गरेका छन्।

कंगोको सञ्चार मन्त्रालयका अनुसार हाल देखिएको प्रकोप विशेषगरी इतुरी प्रान्तमा केन्द्रित छ, जहाँ संक्रमण तीव्र रूपमा फैलिएको छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार हालको प्रकोपका लागि ‘बन्डिबुग्यो स्ट्रेन’ जिम्मेवार रहेको अनुमान गरिएको छ। यो इबोलाको एक खतरनाक प्रकार मानिन्छ, जसको लागि हालसम्म कुनै स्वीकृत खोप वा विशेष औषधि उपलब्ध छैन। यही कारणले यो अवस्थालाई अत्यन्त गम्भीर रूपमा हेरिएको हो।

अधिकारिहरूले संक्रमण नियन्त्रणका लागि आइसोलेसन, सम्पर्क ट्रेसिङ र जनचेतना अभियानलाई तीव्र बनाइरहेका छन्।

विश्वकपमा यी चर्चीत खेलाडी देखिने छैनन् मैदानमा

काठमाडौँ ।  ११ जुनदेखि १९ जुलाईसम्म उत्तर अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६ मा विश्व फुटबलका धेरै ठूला स्टार खेलाडीहरू मैदानमा देखिनेछन्। तर यसपटक केही चर्चित नामहरू भने प्रतियोगिताबाट बाहिरिने भएका छन्। 

कीर्तिमानी ४८ टोली सहभागी हुने विश्वकपको यो संस्करणमा छनोट चरणमै केही शक्तिशाली राष्ट्रहरू असफल हुँदा उनीहरूका स्टार खेलाडीले विश्वकप गुमाउनेछन् । 

नेयमार सहभागी ब्राजीलका रोड्रिगो, एडर मिलिसाओ, जोआओ पेड्रो यसपटकको विश्वकपबाट बाहिर रहनेछन्।   

चार पटकको विश्वकप विजेता इटाली यो पटक पनि विश्वकपमा छनोट हुन असफल भयो। यो सँगै इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट भएन । यो सँगै इटालीका लागि खेल्ने जियानलुइजी डोनारुम्मा र सान्द्रो टोनाली  जस्ता स्टार खेलाडी विश्वकपबाट वञ्चित हुने भएका छन्।

फिफा विश्वकपमा क्यामरुन र नाइजेरिया सफल टिम मानिन्छन्।  तर यो पटकको विश्वकपमा यी दुवै टोली छनोट हुन सकेनन्। यी दुई टोलीका भिक्टर ओसिम्हेन र अडेमोला लुकम्यान  जस्ता चर्चित खेलाडी पनि विश्वकपबाट बाहिर रहनेछन्।

लामो फुटबल सिजनका कारण केही खेलाडी चोटका कारण पनि प्रतियोगिताबाट बाहिरिएका छन्। फ्रान्सका ह्युगो एकिटिके चोटका कारण विश्वकप खेल्न पाउने छैनन्। त्यस्तै, एडुआर्डो कामाभिङ्गा पनि टोलीमा स्थान बनाउन असफल भए।

यस्तै इंगल्याण्डबाट कोल पाल्मर , फिल फोडेन र ह्यारी म्याग्वायर  पनि यसपटक विश्वकपमा देखिने छैनन्।

अन्य चर्चित खेलाडीहरूमा सर्ज ग्नाब्री, रोबर्ट लेवान्डोभ्स्की , जाभी सिमोन्स, ख्भिचा क्वारात्स्खेलिया , डोमिनिक सोबोस्लाई र जान ओब्लाक पनि सहभागी नहुने सूचीमा छन्। 

यसरी धेरै चर्चित खेलाडीको अनुपस्थितिले सन् २०२६ को विश्वकपमा केही ठूला स्टारहरूको चमक हेर्न नपाइने भएको छ।

पक्राउ पुर्जी रोक्न देउवाको रिटमा सुनुवाइ सुरु[भिडियाे]

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन नगर्न माग गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सोमबार सुनुवाइ सुरु भएको हो। यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि सोमबारका लागि मुद्दा तोकेको थियो।

विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि त्यसको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै देउवा पक्ष सर्वोच्च पुगेको हो। रिटमा जिल्ला अदालतलाई पक्राउ अनुमति दिने अधिकार नभएको दाबी गरिएको छ।

देउवा पक्षले अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै पक्राउको आवश्यकता नरहेको तर्क पनि रिटमा गरेको छ।

अब सर्वोच्च अदालतले दुवै पक्षको बहस सुनेपछि पक्राउ पुर्जी कार्यान्वयन रोक्ने वा नरोक्ने विषयमा अन्तरिम आदेशबारे निर्णय गर्नेछ।

यसैबीच, निर्वाचनअघि हङकङ गएका देउवा दम्पती अझै स्वदेश फर्किएका छैनन्।

धम्की आएपछि ‘लुसिफर राइजीङ’ नाटक रोकियो,सरकार भन्छ- जानकारी छैन

काठमाडौं। नाटक ‘लुसिफर राइजीङ’ को मञ्चन रोकिएपछि निर्माण पक्षले धम्की र दबाबका कारण कार्यक्रम स्थगित गर्नुपरेको दाबी गरे पनि सरकार भने यसबारे अनविज्ञ रहेको जनाएको छ।

थापागाउँस्थित एक थिएटर नेपालमा नियमित मञ्चन हुँदै आएको उक्त नाटक अज्ञात समूहको दबाबका कारण रोकिएको निर्माण पक्षको भनाइ छ। निर्माण टिमले आइतबार सूचना जारी गर्दै ‘अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाब’ का कारण शो रोक्न बाध्य भएको जनाएको थियो। साथै, दर्शकप्रति क्षमासमेत मागिएको थियो।

तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने यस विषयमा कुनै औपचारिक जानकारी वा उजुरी प्राप्त नभएको स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले भने, ‘हामीलाई यसबारे कुनै सूचना आएको छैन।’

निर्माण पक्षले दबाब दिने व्यक्ति वा समूहबारे स्पष्ट विवरण सार्वजनिक गरेको छैन। केवल ‘राजनीतिक प्रकृतिको दबाब’ उल्लेख गरिएकाले घटनाबारे थप अस्पष्टता देखिएको छ।

‘लुसिफर राइजीङ’ नाटक शक्ति, मानवीय द्वन्द्व र अराजकताले समाजमा पार्ने प्रभावलाई केन्द्रमा राखेर तयार गरिएको बताइएको छ। यसले शक्तिमा पुगेका व्यक्तिको मनोविज्ञान र त्यसका परिणामलाई चित्रण गर्ने प्रयास गरेको छ।

नाटक सहलेसले निर्देशन गरेका हुन् भने कलाकारहरूमा अनोज पाण्डे, तारा, बुद्धिराम चौधरी, मिलनबहादुर खड्का, सुब्रतराज सिलबाल, एडन बाती लगायत रहेका छन्।

घटनापछि कला क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र दबाबको विषयमा पुनः बहस सुरु भएको छ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो मन्त्रिपरिषद् बैठक राखेका छन् ।

बैठक दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राखिएको छ । आजको बैठकले धितोपत्र बोर्डको कार्यकारी अध्यक्षलगायत केही नियुक्ति गर्ने सम्भावना छ ।

कांग्रेस फुट्न नदिन शेखरका पाँच प्रस्ताव, के-के हुन्?

काठमाडौं । विशेष महाधिवेशनपछि आन्तरिक विवाद चुलिएको नेपाली कांग्रेसमा एकता कायम राख्न नेता डा. शेखर कोइरालाले पाँच बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीभित्र बढ्दो ध्रुवीकरण अन्त्य गर्दै सहमतिका आधारमा अगाडि बढ्नुपर्ने धारणा राख्दै उनले नेतृत्वसमक्ष विभिन्न सुझाव दिएका हुन् ।

कोइरालाले सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेललगायत नेताहरूसँग भएको छलफलमा पार्टी एकतालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनका अनुसार आफूले कुनै पद वा वरिष्ठताको माग नगरेको, बरु पार्टीलाई विभाजनबाट जोगाउने उद्देश्यले प्रस्ताव राखेको हो ।

आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले पार्टीभित्र संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्ने बताएका थिए । उनले पार्टीभित्र अविश्वास र गुटगत तनाव बढ्दै गएको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न स्पष्ट संरचनागत सहमति आवश्यक रहेको धारणा राखे ।

कोइरालालाई चैत २२ गते महामन्त्री प्रदीप पौडेल र वैशाख २३ गते सभापति गगन थापाले विशालनगरस्थित सम्पर्क कार्यालयमै पुगेर भेटेका थिए । त्यसयता भएका विभिन्न अनौपचारिक छलफलमा उनले पाँच प्रस्ताव राखेको उनको सचिवालयले जनाएको छ ।

यस्ता छन् काङ्ग्रेस फुट्न नदिन शेखरका पाँच प्रस्ताव

१.  १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने।

२. १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन गर्ने।

३. १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने।

४. कार्यसम्पादन समिति सभापतिको बहुमत हुने गरी गठन गर्ने।

५. निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति तथा अन्य समितिहरू आपसी सहमतिबाट मात्रै गठन गर्ने।