`

तमन्नाह भाटियाको १५ वर्ष पुरानो मुद्दा मद्रास उच्च अदालतद्वारा खारेज

काठमाडौं। बलिउड अभिनेत्री तमन्नाह भाटियाले दायर गरेको १५ वर्ष पुरानो मुद्दा मद्रास उच्च अदालतले खारेज गरेको छ। उक्त मुद्दा एक साबुन कम्पनीसँगको सम्झौता र तस्बिर प्रयोगसम्बन्धी विवादसँग सम्बन्धित थियो।

तमन्नाहले पावर सोप्स लिमिटेडविरुद्ध १ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी थिइन्। उनले सम्झौता समाप्त भएपछि पनि कम्पनीले आफ्ना तस्बिर र विज्ञापन सामग्री बिना अनुमति प्रयोग गरेको आरोप लगाएकी थिइन्।

उनका अनुसार, २००८ मा भएको सम्झौताअनुसार उनले २००९ सम्म मात्र कम्पनीको प्रचार गर्नुपर्ने थियो। तर २०१० र २०११ को बीचमा पनि कम्पनीले आफ्ना उत्पादनमा तस्बिर र भिडियो प्रयोग गरेको दाबी गरेकी थिइन्।

यस विषयमा उनले कम्पनीलाई रोक्न कानुनी सूचना पठाए पनि कुनै प्रतिक्रिया नआएपछि अदालतमा पुगेकी थिइन्। तर प्रारम्भमा उच्च अदालतको एकल इजलासले उनको मुद्दा खारेज गरेको थियो, जसलाई चुनौती दिँदै उनले पुनः अपिल गरेकी थिइन्।

मद्रास उच्च अदालतले भने उनको अपिल अस्वीकार गर्दै एकल इजलासको निर्णयलाई सदर गरेको छ। यससँगै तमन्नाहले दायर गरेको मुद्दा अन्ततः खारेज भएको छ।

डाक्टरहरुलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौं। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण बिना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ। काउन्सिलका रजिष्ट्रार डा. शतिशकुमार देवले टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्ममार्फत उपचारसम्बन्धी सल्लाह तथा औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न आग्रह गरेका छन्।

काउन्सिलले ‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री सार्वजनिक नगर्न पनि चिकित्सकलाई निर्देशन दिएको छ। बिरामीसँग सम्बन्धित भिडियो वा सामग्री सार्वजनिक गर्ने, औषधि प्रयोग गर्न सुझाव दिने जस्ता कार्य नगर्न अनुरोध गरिएको छ।

काउन्सिलका अनुसार परीक्षण बिना दिइने औषधि सिफारिस र अवैज्ञानिक सल्लाहले सर्वसाधारणलाई भ्रममा पार्ने र स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने जोखिम हुन्छ।

रजिष्ट्रार डा. देवले स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले प्रत्यक्ष परीक्षण र चिकित्सकीय मूल्याङ्कन बिना औषधि प्रयोग गर्न सिफारिस गर्नु खतरनाक हुन सक्ने बताएका छन्।

काउन्सिलले बिरामीलाई पनि सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगरी योग्य चिकित्सकसँग मात्र परामर्श गर्न आग्रह गरेको छ। साथै बिरामीको पहिचान खुल्ने गरी सामग्री सार्वजनिक नगर्न पनि निर्देशन दिएको छ।

ट्रम्पले भने – इरानसँग कुरो नमिले फेरि बम खसाल्नु पर्छ

एजेन्सी। अमेरिका र इरानबीच अस्थायी युद्धविराम भएको छ। पाकिस्तानको इस्लामावादमा भएको लामो वार्ता निष्कर्षविहीन बने पनि अहिले दुवै देशबीच आक्रमण र प्रत्याक्रमण रोकिएको बताइएको छ।

युद्धविरामको समय नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई फेरि कडा चेतावनी दिएका छन्। उनले बुधबारसम्म ठूलो सम्झौता नभए इरानमाथि पुनः बमबारी हुन सक्ने बताएका छन्।

पत्रकारहरूको प्रश्नमा ट्रम्पले युद्धविराम बढाउनेबारे स्पष्ट निर्णय नभएको भन्दै नाकाबन्दी जारी रहने र आवश्यक परे बम आक्रमण पुनः सुरु हुन सक्ने संकेत गरेका छन्।

ट्रम्पले मध्यपूर्वमा इरानसँगको अवस्था सुधार हुँदै गएको दाबी गर्दै दुवै देशबीच स्थायी सम्झौताको अपेक्षा गरिएको पनि बताएका छन्।

टिकटकले किन डिलिट गर्यो नेपालका १९ लाख बढी भिडियो ?

काठमाडौं।  टिकटकले आफ्नो Q4 2025 कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्दै प्लेटफर्ममा सुरक्षित डिजिटल वातावरण कायम गर्न गरिएको कारबाहीबारे विवरण सार्वजनिक गरेको छ।

रिपोर्टअनुसार २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा नेपालमा मात्र १९ लाख ३२ हजार ५७५ भिडियो हटाइएको हो । यस अवधिमा कन्टेन्ट हटाउने दर ९९.९ प्रतिशत रहेको र ९८.४ प्रतिशत भिडियो २४ घण्टाभित्रै हटाइएको कम्पनीले जनाएको छ।

विश्वव्यापी रूपमा सोही अवधिमा १७ करोड ५३ लाखभन्दा बढी भिडियो हटाइएको छ, जुन कुल अपलोडको करिब ०.५ प्रतिशत हो। तीमध्ये अधिकांश सामग्री स्वचालित प्रणालीमार्फत पहिचान गरिएको टिकटकले उल्लेख गरेको छ।

यस अवधिमा १४ करोडभन्दा बढी नक्कली एकाउन्ट हटाइएको तथा १३ वर्षमुनिका हुन सक्ने शंकास्पद करोडौँ खाताहरू पनि निष्क्रिय गरिएको रिपोर्टमा उल्लेख छ।

हटाइएका सामग्रीमध्ये धेरैजसो संवेदनशील सामग्री, सुरक्षा उल्लङ्घन, भ्रामक सूचना तथा एआई-जनरेटेड कन्टेन्टसँग सम्बन्धित रहेको टिकटकले जनाएको छ।

कैलाली भन्सार कार्यालयले गर्यो ६ अर्ब ३२ करोड राजस्व सङ्कलन

धनगढी। कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्म ६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार सो अवधिमा भन्सार महसुलतर्फ २ अर्ब २९ करोड ४१ लाख, मूल्य अभिवृद्धि करतर्फ २ अर्ब ५२ करोड २४ लाख, अन्तःशुल्कतर्फ ११ करोड ९९ लाख र अन्यतर्फ १ अर्ब ३९ करोड ५ लाख रुपैयाँ संकलन भएको छ।

चालु आर्थिक वर्षमा ९ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा नौ महिनामा लक्ष्यको ६५.१५ प्रतिशत मात्र संकलन भएको छ। चैत महिनाबाहेक कुनै पनि महिनामा लक्ष्य पूरा हुन नसकेको कार्यालयले जनाएको छ।

महिनागत विवरणअनुसार साउनमा ५७ करोड ८० लाख, भदौमा ५३ करोड ७० लाख, असोजमा ६७ करोड ७८ लाख, कात्तिकमा ७२ करोड ५४ लाख, मङ्सिरमा ६८ करोड ९१ लाख, पुसमा ७४ करोड ६५ लाख, माघमा ६८ करोड ८२ लाख र फागुनमा ७६ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले ११ अर्ब १६ करोड २६ लाख रुपैयाँ लक्ष्य राखेकामा ८ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ मात्र संकलन गरेको थियो, जुन लक्ष्यको ७७.६७ प्रतिशत हो।

भोजपुर गोल्डकपको तयारी पूरा, आइतबारदेखि खेल सुरु

काठमाडौं। आइतबारदेखि सुरु हुने नवौँ संस्करणको भोजपुर गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगितामा नेपालका आठ समूहको सहभागिता रहनेछ।

आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालका अनुसार भोजपुर नगरपालिका-७ स्थित रंगशालामा हुने प्रतियोगिताका लागि खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगितामा भोजपुर नगरपालिकाले ३० लाख रुपैयाँ प्रायोजन गरेको छ।

प्रतियोगिता वैशाख ६ देखि १२ गतेसम्म सञ्चालन हुनेछ। पहिलो खेल आइतबार सशस्त्र प्रहरी बल (एपीएफ) र एलएक्स सिटी मोरङबीच हुने आयोजकले जनाएको छ।

पहिलो चरणका अन्य खेलमा वैशाख ७ गते आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ र सङ्खुवासभा-११, वैशाख ८ गते सातदोबाटो युथ क्लब र केपिलासगढी गाउँपालिका खोटाङ तथा वैशाख ९ गते प्लानिङ ब्वाइज युनाइटेड र द गोर्खाज फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।

यसैबीच, वैशाख १७ देखि २० गतेसम्म आठौँ महिला फुटबल प्रतियोगिता पनि सञ्चालन हुने भएको छ। उक्त प्रतियोगिता पनि जिल्ला फुटबल सङ्घको आयोजनामा र भोजपुर नगरपालिकाको प्रायोजनमा हुने बताइएको छ।

भैरवकुण्ड: धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिएको उदीयमान पर्यटकीय गन्तव्य(तस्बिरहरु)

रसुवा। भैरवकुण्ड धार्मिक आस्था, सांस्कृतिक महत्व र प्राकृतिक सौन्दर्यका कारण पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। भोटेकोशी गाउँपालिकाको शिर क्षेत्रमा अवस्थित यो कुण्ड हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र मानिन्छ। विशेषगरी शेर्पा समुदायले यसलाई ‘आमा छयूमेन’का रूपमा पूजा गर्ने परम्परा छ।

समुद्री सतहबाट ४,१२४ मिटर उचाइमा रहेको भैरवकुण्ड, ६,५६७ मिटर उचाइको फुर्वी घ्याचु भञ्ज्याङको फेदीमा अवस्थित छ। करिब ८४ हजार १९३ वर्गमिटर क्षेत्रफलमा फैलिएको यो विशाल तालले प्राकृतिक रूपमा अद्भुत दृश्य प्रस्तुत गर्छ। भैरवकुण्डभन्दा केही तल नेपालकै दोस्रो अग्लो भैरवकुण्ड छहरा रहेको छ, जसको उचाइ १९८ मिटर छ। ताल र छहराको संयोजनले यहाँको प्राकृतिक आकर्षणलाई अझ बढाएको छ। साथै, नजिकै देखिने जुगल हिमशृङ्खलाले पर्यटकलाई झनै मोहित बनाउने गर्दछ।

भैरवकुण्ड पुग्न भने सहज छैन। अरनिको लोकमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिकाको लार्चाबाट उकालो र कठिन पदमार्ग हुँदै करिब दुई दिनको पैदल यात्रापछि मात्र त्यहाँ पुग्न सकिन्छ। बाटोमा स्थानीय बासिन्दाको घर तथा होमस्टेमा बस्न र अर्गानिक परिकारको स्वाद लिन पाइन्छ। यात्राका क्रममा शेर्पा समुदायको संस्कृति, भेषभूषा र जीवनशैली नजिकबाट अवलोकन गर्ने अवसर समेत मिल्छ।

धार्मिक मान्यताअनुसार भैरवकुण्ड भगवान् शिव र पार्वतीको वासस्थान मानिन्छ। भैरवलाई शिवको उग्र रूपका रूपमा पूजिने गरिन्छ। जनैपूर्णिमाको अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ, जहाँ हजारौँ भक्तजन दर्शन तथा स्नानका लागि पुग्ने गर्दछन्। ‘जे माग्यो, त्यही पूरा हुन्छ’ भन्ने जनविश्वासका कारण पनि यहाँ तीर्थालुहरूको आकर्षण उच्च छ।

धार्मिक महत्वसँगै प्राकृतिक सौन्दर्यले भरिपूर्ण भैरवकुण्ड विदेशी पर्यटकका लागि पनि आकर्षणको केन्द्र बनेको छ। युरोप, अमेरिका, जापान लगायत विभिन्न देशबाट आउने पर्यटकहरू यहाँको दृश्य अवलोकनका लागि एक हप्तादेखि एक महिनासम्म बस्ने गरेका छन्। उनीहरू प्रायः टेन्ट र आवश्यक सामग्री बोकेर आउने गरेका छन् भने स्थानीय होटल तथा घरमा पनि बासको सुविधा उपलब्ध छ।

कठिन यात्रा भए पनि त्यहाँ पुगेर प्राप्त हुने प्राकृतिक र आध्यात्मिक अनुभवले सबै थकान भुलाइदिने भएकाले भैरवकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन क्रमशः बढ्दै गएको स्थानीयहरूको भनाइ छ।

हर्क साम्पाङको उपस्थितिमा पशुपति क्षेत्रमा श्रमदानमार्फत सरसफाइ अभियान(तस्बिरहरु)

काठमाडाैं। हर्क साम्पाङको उपस्थितिमा श्रम संस्कृति पार्टीले पशुपति क्षेत्रमा श्रमदानमार्फत सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रममा पार्टीका नेता कार्यकर्ता तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले पशुपति क्षेत्र वरपरको फोहोर संकलन गरी वातावरण सफा बनाउने अभियानमा सक्रिय रूपमा योगदान दिएका थिए।

यस अवसरमा साम्पाङले श्रमदान संस्कृतिलाई समाजमा प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए। उनले सरसफाइलाई केवल सरकारी जिम्मेवारीका रूपमा नभई नागरिकको साझा दायित्वका रूपमा लिनुपर्नेमा जोड दिए।

कार्यक्रममार्फत पशुपति क्षेत्रको वातावरण स्वच्छ राख्न र जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने पार्टीको योजना रहेको जनाइएको छ।

ब्रोइलर कुखुरा खाँदा दुई बालकको मृत्यु

धनगढी । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु भएको छ। 

चुरे गाउँपालिका-३, भक्तपुरका ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।

दुवै जना सहोदर दाजुभाइ हुन्। जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार उनीहरूले बिहीबार मरेको कुखुराको मासु खाएपछि स्वास्थ्य समस्या देखिएको थियो।

यसै घटनामा मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र ३ वर्षीय कान्छा छोरा दिपेश ताम्राकारको सोही अस्पतालमा उपचार भइरहेको छ।

घटना बिहीबार भएको भए पनि प्रहरीलाई शुक्रबार मात्र जानकारी दिइएको थियो। त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई उपचारका लागि धनगढी लगिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेको खुलेको प्रहरीले जनाएको छ।

एसपीपी र एमसीसी क्याविनेटबाट खारेज गर्न बालेनलाई दुर्गा प्रसाईंको सुझाव (भिडियो)

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सरकारले गरिब नागरिकमाथि लुटपाट मच्चाएको आरोप लगाएका छन्। समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलन गर्दै उनले सदन प्रतिपक्षविहीन बनेको दाबी पनि गरेका हुन्।

उनका अनुसार हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी प्रतिपक्षको रूपमा रहने अपेक्षा भए पनि सरकारमै सहभागी भएकाले सदनमा प्रभावकारी प्रतिपक्ष नरहेको अवस्था बनेको छ। उनले प्रमुख प्रतिपक्षी दलहरू पनि बोल्न नसक्ने अवस्थामा रहेको आरोप लगाए।

प्रसाईँले निर्वाचन परिणामपछि सबै दल संकटमा रहेको र केही दल विभाजनको अवस्थामा पुगेकाले जनताको पक्षमा आवाज उठाउन नसकेको बताएका छन्। सरकारको विकासका गतिविधि सामाजिक सञ्जालमै सीमित भएको उनको भनाइ छ।

त्यसैगरी उनले काठमाडौँ महानगर प्रमुख बालेन शाहप्रति आक्रामक टिप्पणी गर्दै तीन महिना चुप बस्न आग्रह गर्दा पनि नसकेको उल्लेख गरे। उनले हिन्दु अधिराज्य कायम गर्ने, एसपीपी र एमसीसी खारेज गर्ने भए सरकारलाई साथ दिन आफू तयार रहेको बताए।

डीडीसीले किसानको करिब ९ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको र स्वास्थ्य बीमाको १९ अर्ब रुपैयाँ पनि नतिरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

गाँजाको तेलसहित अमेरिकी नागरिक विमानस्थलमा पक्राउ

काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रहरीले गाँजाको तेलसहित एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।

२०८३ वैशाख ४ गते दिउँसो करिब १ बजे एयर इन्डियाको उडान नम्बर एआई २१८ मार्फत काठमाडौंबाट दिल्ली जान लागेका अमेरिकी नागरिक ओग्नियन पेट्रोभ पक्राउ परेका हुन्।

उनको झोलाको जाँचका क्रममा १.२५ लिटरका पाँच वटा बोतलमा गाँजाको तेल फेला परेको प्रहरीले जनाएको छ। शंका लागेपछि थप परीक्षण गरिएको थियो।

पक्राउ परेका पेट्रोभलाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागू औषध नियन्त्रण ब्युरोको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बोका चोर्ने पक्राउ

रौतहट। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले किसानको घरबाट बोका चोरी गर्ने एक युवकलाई पक्राउ गरेको छ।

चन्द्रपुर नगरपालिका-५ का शिवम माझीको घरबाट वैशाख ४ गते राति करिब सवा ८ बजे बोका चोरी भएको थियो। प्रहरीले अनुसन्धानका क्रममा चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका-६ उचिडीका अन्दाजी २७ वर्षीय विक्रम ठाकुर रहेका छन्। पक्राउ परेका ठाकुरलाई जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

अलमलमा देउवा पक्ष, अब के गर्लान् नेताहरु ?

काठमाडाैं। नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसको सक्रिय राजनीतिमा छैनन्।  अझ देखिने गरी उनले  कांग्रेसका कार्यक्रम र निर्णयभित्र कुनै हस्तक्षेपकारी भूमिका खेलेको देखिदैन। तर उनीबिना उनका पक्षका नेताहरुको राजनीतिक भविस्य धर्मराएको जस्तो देखिन्छ। 

हिजो मात्रै सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने फैसला गर्यो।  यो फैसलासँगै पार्टीभित्रको शक्ति समीकरण फेरिएको छ। 

अदालतको यस फैसलाले गगन नेतृत्वलाई वैधानिकता मात्र दिएको छैन, लामो समयदेखि पार्टीभित्र चलिरहेको विवादलाई पनि नयाँ मोडमा पुर्‍याएको छ। तर, यही निर्णयले पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेताहरूलाई भने गम्भीर अन्योलमा धकेलेको देखिन्छ।

गत माघ २७-२९ गते काठमाडौंमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भए । यो परिणामले दुई पटक कांग्रेस सभापति र पाँच पटक देशको प्रधानमन्त्री भइसकेका देउवाको राजनीतिक यात्रामा अप्रत्याशित मोड ल्यायो। 

निर्वाचन प्रक्रियामा सहभागी नै नभएका देउवा त्यसयता करिब दुई महिनादेखि विदेशमा छन्। उनी उपचारका लागि बाहिरिएको बताइए पनि स्वदेश कहिले फर्कीन्छन्, टुङ्गो छैन।

देउवाको अनुपस्थितिले मात्र होइन, उनीसँग नजिक मानिएका नेताहरूको रणनीतिले पनि अहिले उनीहरूलाई अप्ठ्यारोमा पारेको देखिन्छ। शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, चन्द्र भण्डारीलगायतका नेताहरू विशेष महाधिवेशन मै सहभागी भएनन्। उनीहरूको यो बहिष्कार अहिले उल्टै राजनीतिक जोखिममा परिणत भएको छ। एकातिर उनीहरू पार्टीको औपचारिक संरचनाबाट बाहिर परेका छन् भने अर्कोतर्फ उनीहरूको भावी राजनीतिक भूमिका पनि अनिश्चित छ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्षभित्र रणनीतिक छलफलको आवश्यकता तीव्र भएको छ। यही सन्दर्भमा देउवा समूहका नेताहरूको अनौपचारिक बैठक आज बस्दैछ। 

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा अपराह्न ४ बजे बस्ने बैठकमा अबको बाटो के हुने भन्ने विषयमा केन्द्रित छलफल हुने बताइएको छ। नेता प्रकाशशरण महतका अनुसार अदालतको फैसलापछि उत्पन्न परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे साझा धारणा बनाउन आवश्यक छ।

पछिल्लो समय देउवा पक्षका धेरै नेताहरू पार्टी एकताको पक्षमा झुक्न थालेका संकेत देखिएका छन्। अदालतको अन्तिम निर्णयपछि विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिलाई स्वीकार गरेर अघि बढ्नु नै व्यावहारिक विकल्प भएको उनीहरूको बुझाइ छ। यससँगै आगामी १५औं नियमित महाधिवेशनलाई लक्षित गर्दै संगठन सुदृढ गर्ने र पुनः राजनीतिक स्थान सुरक्षित गर्ने रणनीति बनाउने चर्चा भइरहेको छ।

नेता महतले पनि अदालतको फैसला अपेक्षाभन्दा फरक आए पनि त्यसलाई स्वीकार गर्दै बृहत् पार्टी एकताको पक्षमा उभिनुपर्ने धारणा व्यक्त गरेका छन्। उनका अनुसार अहिलेको अवस्थामा विभाजन होइन, संवाद र सहकार्य नै प्रमुख आवश्यकता हो। पार्टीभित्रको विवाद समाधानका लागि एउटा संयन्त्र निर्माण गरी साझा निष्कर्षमा पुग्नुपर्ने उनको जोड छ।

समग्रमा हेर्दा, सर्वोच्च अदालतको निर्णयले कांग्रेसभित्रको नेतृत्व संकटलाई औपचारिक रूपमा टुंग्याएजस्तो देखिए पनि आन्तरिक राजनीति अझै स्थिर भइसकेको छैन। गगनकुमार थापा नेतृत्वको नयाँ कार्यसमितिले अब पार्टीलाई कसरी समेट्छ र देउवा पक्षीय नेताहरूले कस्तो रणनीति अपनाउँछन् भन्ने कुराले आगामी दिनमा कांग्रेसको दिशा निर्धारण गर्नेछ। 

अहिलेको अवस्था कांग्रेसको लागि केवल नेतृत्व परिवर्तन मात्र होइन, पार्टीभित्रको शक्ति सन्तुलन पुनःपरिभाषित हुने संक्रमणकालीन चरणमा बदलिन सक्छ।

 

साँचो नेताले राष्ट्रको प्रतिष्ठा उकास्छ : महेश बस्नेत

काठमाडाैं।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले निर्वाचनलाई लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन्।

बस्नेतले शनिबार फेसबुकमा एक स्टाटस लेख्दै चुनावमा हार जितलाई सामान्य प्रक्रिया भएको बताए। उनले साँचो नेताको प्रमुख जिम्मेवारी राष्ट्रको प्रतिष्ठा उकास्नु र जनताको जीवनमा खुसी ल्याउनु रहेको बताएका हुन्।

उनले कहिलेकाहीँ जनताहरू भ्रममा पर्न सक्ने र निर्णयमा चुक्न सक्ने अवस्था रहने बताए पनि समयसँगै सत्य स्थापित हुने विश्वास व्यक्त गरेका छन्। ‘समयसँगै सही मूल्य र मान्यता पुनः स्थापित हुन्छ,’ उनको भनाइ छ।

बस्नेतले भक्तपुरवासीसहित देशभरका नागरिकलाई सम्बोधन गर्दै आफूहरू जनताको सेवकका रूपमा सधैं साथमा रहने प्रतिबद्धता जनाएका छन्। उनले नागरिकले भोग्ने दुःख, समस्या र अप्ठ्यारोमा साथ दिन तथा उनीहरूको भरोसा कायम राख्न निरन्तर क्रियाशील रहने बताएका छन्।

पार्टीलाई एकताबद्व बनाउने वातावरण बन्यो : गगन थापा

काठमाडाैं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सुदृढ गर्ने अनुकूल वातावरण बनेको बताएका छन्।

शुक्रबार सर्वोच्च अदालतले विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक कांग्रेसको मान्यता दिने फैसला गरेपछि प्रतिक्रिया दिँदै सभापति थापाले अब पार्टीलाई एकताबद्ध बनाउने अवसर आएको बताएका हुन्।

‘सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।   

उनले पार्टीका सदस्य तथा शुभेच्छुकहरूलाई देशभित्र वा विदेशमा जहाँ रहे पनि आ-आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक पार्टी एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका खेल्न आह्वान गरेका छन्। 

‘पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी मेरो हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु,’ थापाले बताएका छन्।

थापाले कांग्रेसको पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेकाले त्यसलाई पार्टी रुपान्तरणको अवसरका रुपमा लिनुपर्नेमा जोड दिए। 

थापा थप्छन्, ‘पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ।’

उनले अग्रज नेताहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल निर्माणमा योगदान दिन सक्ने बलियो पार्टी निर्माणका लागि सबै नेता कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गरेका छन्।

 

समय नै डर हो – जे. कृष्णमुर्ति

जिद्दु कृष्णमूर्ति एक विश्वप्रसिद्ध भारतीय दार्शनिक, वक्ता र लेखक थिए। उनको जन्म सन् १८९५ मा भारतको मदनापल्लेमा भएको थियो र मृत्यु सन् १९८६ मा भएको थियो। उनी बाल्यकालमा थियोसोफिकल सोसाइटीद्वारा ‘विश्व शिक्षक’ का रूपमा प्रस्तुत गरिएका थिए, तर पछि उनले त्यो भूमिका अस्वीकार गर्दै स्वतन्त्र विचार र आत्मअन्वेषणमा आधारित शिक्षाको प्रचार गरे। कृष्णमूर्तिले कुनै पनि धर्म, संगठन, गुरु वा सिद्धान्तको अन्धा अनुसरणलाई अस्वीकार गर्दै मानव मनको गहिरो अवलोकन, डर, समय, विचार र चेतनाको स्वतन्त्र बुझाइमा जोड दिए। उनका विचारहरूले शिक्षा, मनोविज्ञान र आध्यात्मिक सोचमा गहिरो प्रभाव पारे र उनले विश्वभर लाखौं मानिससँग संवाद तथा प्रवचनहरू दिए।

त्यसैमध्ये उनले दिएको प्रवचनको केहि अंश:

संसारको वर्तमान अवस्था, संसारभरि बिस्तारै फैलिँदै गएको अधिनायकवाद, स्वतन्त्रताको अस्वीकार, तथा सबै प्रकारका भ्रम, युद्ध, भोकमरी र संसारभरका मानवहरूको ठूलो पीडा यी सबै कुरालाई हेर्दा यो विनाशकारी अस्तित्व कुनै पनि अनुभव, कुनै धार्मिक संगठन वा विश्वास, वा वैज्ञानिक ज्ञान, वा अनुभवबाट संकलित साधारण ज्ञानद्वारा पनि मूल रूपमा परिवर्तन भएको छैन।

यो झन् झन् स्पष्ट हुँदै गएको छ कि मानिसले शताब्दीयौँदेखि संकलन गरेको ज्ञानले मूल रूपमा मानव व्यवहारलाई अन्य मानवहरूप्रति परिवर्तन गर्न सकेको छैन। मलाई लाग्छ जसले यस विषयमा गम्भीर रूपमा अध्ययन गरेका छन्, उनीहरूले यसलाई स्वीकार गर्न सक्छन्।

यदि म फेरि सम्झाउन सक्छु भने, आज म समय, क्रिया र डरको विषयमा प्रवेश गर्न चाहन्छु। हामी साधारण भाषा प्रयोग गर्दैछौं, कुनै जटिल शब्दावली होइन, कुनै प्राविधिक शब्द होइन, तर शब्दकोशअनुसार अर्थ हुने सरल शब्दहरू। शब्दकोश भनेको शब्दहरूको सामान्य रूपमा स्वीकार गरिएको अर्थ हो।

हामीले यो पनि भनेका थियौं कि अवलोकन गर्न पूर्ण मनोवैज्ञानिक स्वतन्त्रता हुनुपर्छ। त्यो स्वतन्त्रता बिना सबै धारणा, प्रतीक्षासहितको बुझ्ने प्रयास र त्यसपछि कार्य गर्ने प्रयासले वर्तमान जीवनको सम्पूर्ण सान्दर्भिकता अस्वीकार गर्छ।

हामीले भनिरहेका थियौं कि विचारले जे बनाएको छ, जेबारे सोचिएको छ, त्यो नै वास्तविकताको संसार हो। त्यो विचार तर्कसंगत वा अतर्कसंगत हुन सक्छ, दुवै वास्तविक हुन्। वास्तविक र काल्पनिक दुवै वास्तविकताका क्षेत्र हुन्। असन्तुलित अवस्था पनि र सन्तुलित अवस्था पनि दुवै वास्तविकताको क्षेत्रमा पर्छन्।

मलाई लाग्छ, समयको सम्पूर्ण समस्यालाई नबुझेसम्म मानिस कहिल्यै डरबाट मुक्त हुन सक्दैन। समय नै डर हो।

अब प्रश्न यो हो, समय के हो?

किनकि हामी समयअनुसार बाँच्दछौं, समयअनुसार कार्य गर्छौं। हाम्रो सम्पूर्ण सोच विगतको सम्झनामा आधारित हुन्छ, वर्तमानमा काम गर्छ, र भविष्य निर्माण गर्छ। यी सबै नै समय हुन्, जुन हाम्रो सर्तबद्धताको अनुसार हुन्छ।

त्यहाँ केवल घडीअनुसारको कालक्रमिक समय मात्र छैन, हिजो, आज र भोलि, जुन यात्रा वा कामका लागि आवश्यक हुन्छ। त्यसभन्दा बाहिर मनोवैज्ञानिक समय पनि छ।

मनोवैज्ञानिक रूपमा प्राप्त गर्ने समय, बन्ने समय, परिवर्तन गर्ने समय, कुनै विचारधारात्मक अवस्था प्राप्त गर्ने समय, एक सर्तबाट अर्को सर्तमा परिवर्तन गर्ने समय यी सबैलाई समय भनिन्छ। केवल बन्ने प्रक्रिया मात्र होइन, अचेतन स्तरमा पनि समयको गति हुन्छ।

म आशा गर्छु हामी एकअर्कासँग स्पष्ट रूपमा संवाद गरिरहेका छौं। किनकि केवल मौखिक संवाद, वर्णन वा व्याख्या मात्र होइन, शब्द वस्तु होइन, न त वर्णित कुरा नै हो। तर शब्द आवश्यक छन्, र यदि हामीले एकअर्कालाई बुझ्ने हो भने संवाद गर्न शब्दहरू आवश्यक हुन्छन् जसले भनिएको कुरा साझा गर्न मद्दत गर्छ।

जे भनिँदैछ त्यो कुनै राय होइन, न कुनै व्यक्तिगत झुकाव, प्रवृत्ति वा व्यक्तिगत निष्कर्ष। हामी तथ्यसँग काम गरिरहेका छौं, जे छ, त्यो; न कि जे हुनुपर्छ वा जे हामी आशा गर्छौं, वा असम्भव कल्पनामा रमाउने कुरा।

हामी वास्तवमै हाम्रो दैनिक जीवन कसरी बाँचिरहेका छौं भन्ने कुरासँग काम गरिरहेका छौं। र यदि कोही आफ्नो जीवन र समाजको आमूल परिवर्तनमा चासो राख्छ भने हामीले दुःख, प्रेम र त्यसका सबै जटिलता, पीडा, शोक र ग्रस्तता मात्र होइन, समयको यो समस्यालाई पनि बुझ्नैपर्छ।

त्यसैले समय नै गति हो, यहाँबाट त्यहाँ जाने गति। यो गति शारीरिक मात्र होइन, मनोवैज्ञानिक पनि हो।

मनोवैज्ञानिक गति चेतन वा अचेतन हुन सक्छ, इच्छा, बन्ने आकांक्षा, लक्ष्यको प्रक्षेपण, ‘जे छ’ बाट ‘जे हुनुपर्छ’ तर्फको गति यी सबै समय हुन्। यो प्रक्रिया चेतन र अचेतन दुवै स्तरमा हुन्छ।

इच्छा बन्ने वा नबन्ने निरन्तर गति, यसको प्रतिक्रियासहितको चलायमान अवस्था समयको क्षेत्रमा पर्छ। मलाई लाग्छ, यो कुरा हामीमध्ये धेरैलाई स्पष्ट छ।

हामी विगतमा बाँचिरहेका हुन्छौं, विगतसँगै कार्य गर्छौं, वर्तमानमा काम गर्छौं। यो चेतन स्तरमा हिजोबाट आजसम्मको गति हो, जुन समय हो।

र अचेतन, अर्धजागृत वा अस्पष्ट चेतन अवस्थामा पनि इच्छा, लुकेको कपट, दोहोरो व्यवहार, एक कुरा भन्नु र अर्को गर्नु, तथा अचेतन इच्छाको गति यी सबै हुन्छन्।

चेतन इच्छा र अचेतन इच्छाको गति दुवैप्रति हामी सचेत हुनुपर्छ, र त्यही गति नै समय हो।

यो गति, यो चाल वास्तवमा विचारको गति हो होइन र? त्यसैले विचार चाहे चेतन होस्, अर्धचेतन होस् वा अचेतन सधैं समयको क्षेत्रमा काम गरिरहेको हुन्छ। समय केवल घडीले नापिने बाह्य कालक्रम मात्र होइन, बरु विचारको गति पनि हो, जुन इच्छा रूपमा चलिरहेको हुन्छ, चेतन तथा अचेतन दुवै तहमा। यो नै हामी सबैमा भइरहने कुरा हो।

अब क्रिया के हो? किनकि हामीले कार्य गर्नै पर्छ, जीवन नै क्रिया हो, सम्बन्ध नै क्रिया हो। त्यो गर्नु हो, गरिसकेको होइन वा गर्नेछु भन्ने होइन, न त भूत हो न भविष्य। त्यो क्रिया होइन।

के तपाईंले यो बुझ्नुभएको छ? क्रिया शब्दको अर्थ सधैं वर्तमान सक्रिय क्षणमा हुन्छ, होइन र? तर त्यो सक्रिय वर्तमान पनि भूतले रंगिएको हुन्छ, स्मृति, हाम्रो सर्तबद्धता, हाम्रो शिक्षा, वातावरणीय प्रभाव र विभिन्न अनुभवहरूद्वारा। त्यो सबै स्मृतिको रूपमा सञ्चित हुन्छ, जुन समय हो, कृपया ध्यान दिनुहोस्, जुन समय हो, र यो क्रिया सधैं सीमित हुन्छ, बाँधिएको हुन्छ।

अर्थात्, जब म आफ्नो सर्तबद्ध ढाँचाअनुसार कार्य गर्छु, तब त्यो क्रिया कहिल्यै पूर्ण रूपमा वर्तमानमा हुँदैन। त्यो सधैं विगतको ज्ञानबाट, जुन भूत हो, वर्तमानमार्फत कार्य गरिरहेको हुन्छ, त्यसैले त्यो वास्तविक क्रिया होइन। के हामी यो देख्छौं?

त्यसैले प्रश्न उठ्छ, क्रिया र समयबीच के सम्बन्ध छ? के तपाईंले पछ्याइरहनुभएको छ? म कुनै आदर्शअनुसार, कुनै विश्वासअनुसार वा कुनै निष्कर्षअनुसार कार्य गर्छु। आदर्श भविष्यमा हुन्छ, निष्कर्ष विगतमा हुन्छ, जस्तै ज्ञान। र विश्वास तर्कहीन हुन्छ, भविष्य र भूत दुवैसँग सम्बन्धित, एक प्रकारको काल्पनिक वा न्यूरोटिक क्रिया हुन्छ। त्यसैले यी सबै कुरा समय हुन्।

त्यसैले क्रिया सधैं रंगिएको, सीमित, अपूर्ण, खण्डित र त्यसैले आत्मविरोधी हुन्छ। के यो धेरै छिटो गइरहेको छ?

म यो कुरा औंल्याउन चाहन्छु, हामी तपाईंको जीवन, तपाईंको दैनिक जीवनको कुरा गरिरहेका छौं, कुनै सैद्धान्तिक जीवनको होइन। हामी वास्तवमा दुई जना साथीहरू झैं शान्त ठाउँमा बसेर गम्भीरतापूर्वक मानव समस्याहरूको समाधानबारे कुरा गरिरहेका छौं, किनकि हामीलाई लाग्छ हामी दुई व्यक्ति नै संसार हौं र संसार नै हामी हौं। हामी संसारको सार नै हौं, र हामीले जे गर्छौं त्यसले संसारलाई प्रभाव पार्छ।

त्यसैले यो अत्यन्त महत्वपूर्ण छ कि के त्यस्तो कुनै क्रिया छ जुन वास्तवमै वर्तमानमा हुन्छ, न भूतद्वारा निर्देशित, न भविष्यको अवधारणाबाट चलाइएको। किनकि हामी सधैं यस्तै गरिरहेका हुन्छौं, र त्यसैले हाम्रो क्रिया अपूर्ण, विरोधाभासी हुन्छ, जसले पश्चात्ताप, चिन्ता, पीडा आदि जन्माउँछ।

त्यसैले समयविना हुने क्रिया के हो भन्ने कुरा पत्ता लगाउनु अत्यन्त आवश्यक छ, र त्यसका लागि समयको समस्यालाई अत्यन्त गहिराइमा बुझ्नुपर्छ।

कृष्णमुर्ति फाउन्डेसनबाट साभार

१९५९ डिसेम्बर ९ ,मद्रास

सिभिल हस्पिटलमा सेवा सहज बनाउन मन्त्री रावलको निर्देशन

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्री प्रतिभा रावलले निजामती कर्मचारीले उपचारका लागि बेड नपाउने वा सेवा नपाई फर्किनुपर्ने अवस्था तत्काल अन्त्य गर्न निर्देशन दिएकी छन्।

निजामती अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मीलाई निर्देशन दिँदै उनले सेवा प्रवाहमा देखिएका समस्या समाधान गरी गुणस्तरीय र सहज स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरिन्।

मन्त्री रावलले अस्पतालमा बिग्रिएका उपकरण तथा मेसिनहरू तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन, सेवा अवरोध हुन नदिन तथा भिड व्यवस्थापनमा ध्यान दिनुपर्ने बताइन्। साथै, सुधारसम्बन्धी प्रतिवेदनहरू संकलन गरी ३० दिन, तीन महिना, छ महिना र एक वर्षका चरणमा विभाजन गरेर कार्यान्वयन गर्न निर्देशन दिइन्।

उनले निजामती अस्पताललाई कर्मचारीका लागि समर्पित अस्पतालका रूपमा विकास गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।

त्यसैगरी, दरबन्दीभन्दा बढी कर्मचारी व्यवस्थापन गर्न, सेवा प्रवाह सुधार गर्न तथा सेवा विस्तारलाई प्रदेशस्तरमा लैजानुपर्ने आवश्यकता औंल्याइन्। साथै, अस्पतालको सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने, शैक्षिक संस्थाका रूपमा विकास गर्ने तथा क्यान्सर उपचार, बोन म्यारो ट्रान्सप्लान्टलगायत सेवा विस्तारमा प्राथमिकता दिनुपर्ने बताइन्।

पूर्वाधार विकासमा देखिएका अवरोध समाधान गर्न आवश्यक परे नीतिगत सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै उनले सरकार अस्पतालको विकासमा सहयोग गर्न तयार रहेको स्पष्ट पारिन्।

गोकुल बास्कोटाले भने, ‘कांग्रेस सिसा झैँ झर्याम्म-झुरुम भयो’

काठमाडौं।  नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक विवादको समाधान अदालतबाट सम्भव नहुने बताएका छन्। उनले विशेषगरी कांग्रेसको आन्तरिक विवादतर्फ संकेत गर्दै राजनीतिक समस्या अदालतको निर्णयले मात्र अन्त्य नहुने दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले अन्य किसिमका विवादका लागि न्यायिक निकायमा जानु सामान्य भए पनि राजनीतिक विवादको दीर्घकालीन समाधान अदालतले दिन नसक्ने बताएका हुन् । उनले विगतका उदाहरण उल्लेख गर्दै अदालतको निर्णयपछि पनि राजनीतिक दलहरू पुनः विभाजित भएको टिप्पणी गरेका छन्।

उनका अनुसार राजनीतिक एकता कानुनी व्यवस्थाभन्दा बढी दलभित्रको समझदारी र इच्छाशक्तिमा निर्भर हुन्छ। साथै उनले कांग्रेसको अवस्थाप्रति संकेत गर्दै दलको एकता कति मजबुत छ भन्ने प्रश्नसमेत उठाएका छन्।

उनको स्टाटस:

डिजेल-पेट्रोल पछि पिउने पानीको मूल्य पनि बढ्दै

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानी उत्पादनको लागत उल्लेख्य रूपमा बढेको जनाउँदै आफ्ना सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।

शनिबार जारी विज्ञप्तिमा महासंघले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै कारणले उद्योग सञ्चालन नै कठिन बन्दै गएको उल्लेख गर्दै मूल्य वृद्धि अपरिहार्य भएको जनाएको छ। महासंघका अनुसार पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ बोतल, क्याप, र्‍यापिङ रोल, जार तथा जारको क्याप—को मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ। साथै, पेट्रोलियम पदार्थ विशेषगरी डिजेलको मूल्यवृद्धिले ढुवानी खर्च पनि उल्लेख्य रूपमा बढाएको छ।

महासंघले अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि लागत वृद्धिको प्रमुख कारणका रूपमा औंल्याएको छ। इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धमा देखिएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजार, आपूर्ति प्रणाली तथा ढुवानी क्षेत्रमा परेको प्रभावले कच्चा पदार्थको मूल्य र उपलब्धतामा प्रत्यक्ष असर परेको जनाएको छ।

हाल नेपालमा ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा रहेका छन्, जसमा १६ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। यस क्षेत्रले ३० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ। सुरक्षित र गुणस्तरीय पानी आपूर्ति गर्दै राष्ट्रिय अर्थतन्त्र र राजस्वमा योगदान पुर्‍याउँदै आएको यो क्षेत्र बढ्दो लागतका कारण संकटमा परेको महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीले बताएका छन्।

स्ट्रेट अफ हर्मुज खुला रहेको इरानको दाबी

काठमाडाैं। इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुजलाई पुनः व्यावसायिक जहाजहरूको आवागमनका लागि खुला गरेको घोषणा गरेको छ। विदेशमन्त्री अब्बास अराघ्चीले युद्धविराम अवधिमा तोकिएका सुरक्षित मार्गहरू प्रयोग गर्न जहाजहरूलाई आग्रह गरेका छन्, बीबीसीले जनाएको छ।

अमेरिका र इजरायलले २८ फेब्रुअरीमा आक्रमण गरेपछि इरानले उक्त मार्ग अवरुद्ध गरेको थियो। अमेरिका–इरानबीचको युद्धविराम २२ अप्रिलसम्म रहने तय गरिएको छ। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौता नहुँदासम्म इरानी बन्दरगाहमाथिको नाकाबन्दी कायम रहने बताएका छन्।

यता, समुद्री सुरक्षासम्बन्धी निकायहरूले मार्ग पूर्ण रूपमा सुरक्षित भएको पुष्टि गर्न बाँकी रहेको बताएका छन्। जहाज ट्र्याकिङ डाटाअनुसार हालसम्म आवागमन अपेक्षाकृत कम नै देखिएको छ। साथै, इरानले सैन्य जहाजहरूको आवागमनमा भने अझै प्रतिबन्ध कायम रहने स्पष्ट पारेको छ।

विश्वको झण्डै २० प्रतिशत तेल तथा ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले हालको तनावले अन्तर्राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पारेको छ। पछिल्ला घटनाक्रमपछि तेलको मूल्य केही घटे पनि मार्ग पूर्ण रूपमा सुरक्षित भइसकेको हो कि होइन भन्ने विषयमा अझै अनिश्चितता कायम छ।

अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न गुटेरेसको आग्रह

एजेन्सी। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन बढ्दै जाँदा विश्वव्यापी विश्वास कमजोर हुँदै गएको बताएका छन्। उनले अन्तर्राष्ट्रिय अदालतका निर्णयहरू संयुक्त राष्ट्रसङ्घको बडापत्रअनुसार बाध्यकारी भएकाले तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका हुन् ।

अन्तर्राष्ट्रिय अदालतको ८० औँ वार्षिकोत्सवका अवसरमा जारी सन्देशमा उनले विगत आठ दशकमा अन्तर्राष्ट्रिय न्याय प्रणालीलाई मजबुत बनाउन अदालतले महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन्। साथै, अदालतको स्वतन्त्रता र विश्वसनीयता जोगाउँदै विवादहरूको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्नुपर्नेमा उनले आग्रह गरेका छन्।

उनले सशस्त्र द्वन्द्वको विस्तार, नियमविपरीतका सैन्य गतिविधि तथा मानवीय दायित्व पूरा गर्न नसकिने अवस्थाले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन तीव्र बन्दै गएको बताए। यसले न्यायिक संस्थाहरूप्रति अविश्वास र चुनौती बढाइरहेको उनको भनाइ छ।

गुटेरेसले विधिको शासनलाई बेवास्ता गर्दै बल प्रयोगलाई प्राथमिकता दिने प्रवृत्तिले विश्वमा थप द्वन्द्व र अस्थिरता निम्त्याउने चेतावनी दिएका छन्।

कहाँ छन् गगन कुमार थापा ?

काठमाडौं। कुनैबेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र बहादुर शाहीले भनेको एउटा भाषण सामाजिक सञ्जालमा अत्यधिक भाइरल थियो । जहाँ उनले भनेका थिए, ‘कहाँ छौ कांग्रेसका गगन कुमार थापा उर्फ ‘गगने’, कहाँ हुनुहुन्छ तपाइँ, उठ्नुहोस्, जाग्नुस्।’ उनले यो अरू नै सन्दर्भमा  भनेपनि अहिले कांग्रेस सभापति गगन कुमार थापा यस्तै निष्क्रिय देखिएका छन्।

चुनावअघि थापा आफ्नो फेसबुक पेजमार्फत लगभग दैनिकजसो सक्रिय देखिन्थे। विभिन्न समसामयिक विषयमा धारणा राख्दै उनले जनताको ध्यान तान्ने र समर्थन बढाउने प्रयास गरिरहेका हुन्थे।

विशेष महाधिवेशनबाट सभापति पदमा चयन भएपछि उनीभित्र प्रधानमन्त्री बन्ने आकांक्षा अझ स्पष्ट रूपमा देखिन थालेको थियो। संसदमा प्रवेश गरेर बहुमत जुटाउने र सिंहदरबार पुगेर सरकारको नेतृत्व गर्ने उनको राजनीतिक ध्येय थियाे। उनी कांग्रेसलाई ठूलो दल बनाउँदै सत्ता नेतृत्वमा पुग्ने रणनीतिमा थिए।

तर निर्वाचनको परिणाम गगनले साेचेभन्दा निकै फरक आइदियाे। सर्लाही-४ मा अमरेश कुमार सिंहसँग पराजित भएपछि उनकाे संसद हुँदै प्रधानमन्त्री बन्ने सपना सपनामै सीमित बन्याे।

त्यसपछि केही समय उनी अलमलमा परेको जस्तो देखिए। पार्टी सभापतिको भूमिकामा रहने वा नैतिकताको आधारमा राजीनामा दिने भन्ने विषयमा समेत चर्चा चल्यो।

त्यही अलमलका बीच उनले सभापति पदबाट राजीनामा समेत दिए।  तर केन्द्रीय कार्यसम्पादन समितिको बैठाले उनको राजीनामा अस्वीकृत गर्यो। 

चुनावपछि फेसबुकमा उनी निकै कम सक्रिय देखिए।  कहिलेकाही आक्कलझुक्कल पार्टीका औपचारिक बैठकमा बाहेक थापा आँट कही देखिँदैनन्।  बरु केही दिन अगाडि उनको जिम गर्दै गरेको भिडियो भने देखिएको थियो। 

चुनावपछि सामाजिक संजालमा केही  अभिव्यक्तिहरू मात्रै सार्वजनिक भए । एक पटक अमरेश सिंहलाई बधाई, अर्को पटक केपी शर्मा ओलीप्रति पितृ शोकमा समवेदना, र एउटा अवसरमा सामान्य शुभकामना सन्देश, यी बाहेक अरू राजनीतिक धारणा गगनले सार्वजनिक गरेका छैनन् ।

पार्टी बैठकमा सानेपा पुग्ने गरेपनि उनी अचेल पत्रकारहरुसँग कुरा गर्न चाहदैनन्।  यसबाट उनी चुनावी हारपछि मनोवैज्ञानिक दबाबमा रहेको अनुमान पनि गर्न सकिन्छ।

चुनावपछि उनको भूमिका के हुन्छ भन्नेबारे राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजीहरू चलिरहे। कतिपयले तत्काल नेतृत्व छोड्छन् भनिरहेका थिए भने कतिले केही समयपछि पुनः सक्रिय हुने धारणा व्यक्त गरे।

त्यसपछी उनको राजिनामा अस्वीकृत भएको खबर सार्वजनिक भयो । राजिनामा दुईधारको जमात खडा भयो।  गगनको यस कदमलाई एक जमातले राजनीतिक नैतिकताको उदाहरणका रूपमा व्याख्या गरे भने एक जमातले यसलाई कांग्रेसकाे वर्तमान केन्द्रीय समिति उनको आफ्नै फेवरको भएकाले राजीनामा स्वीकृत नगरेको भने।

अहिले गगन र प्रधानमन्त्री बालेन्द्र शाह  ‘बालेन’ बीच आन्तरिक गोप्य गठबन्धन भइरहेको समेत चर्चा हुने गर्छ । यसबारे न कुनै आधिकारिक कुरा खुलेको छ, न गगनले नै खुलेर राजनीतिक धारणा सार्वजनिक गरेका छन्।

जेनजी आन्दोलनपछि  भएको विशेष महाधिवेशनबाट थापा सभापति चयन भए पनि देउवा र शेखर समूहले त्यसलाई अस्वीकार गरेपछि कांग्रेसभित्र नेतृत्व विवाद चर्किएको छ। यससँगै पार्टी तीन धारमा विभाजित भएको विश्लेषण राजनीतिक वृत्तमा छ । यो बेला समेत गगन बाह्य रुपमा त्यति सक्रिय देखिन्नन्। 

अहिले आमजनचासाेकाे विषय बनेकाे छ- ‘चुनावपछि कहाँ हराए गगन ?’, ‘किन चुप छन् गगन ?’, ‘कस्तो रणनीति बनाउँदैछन् गगन ?’

गगनले कुनै न कुनै रणनीति बनाइरहेकाे विश्लेषकहरु बताउँछन् ।  गगन अब कुन रूपमा प्रस्तुत हुन्छन्, त्यो त समयले नै बताउनेछ।

जहाँ अहंकार समाप्त हुन्छ,त्यहीँबाट कृष्ण सुरु हुन्छन्

ओशो एक भारतीय आध्यात्मिक गुरु,दार्शनिक र ध्यान-शिक्षक हुन् जसले परम्परागत धर्म, समाज र मान्यतामाथि प्रश्न उठाउँदै ध्यान र आत्म-चेतनाको माध्यमबाट मानव स्वतन्त्रता र जागरणको विचार प्रस्तुत गरे। उनले विभिन्न धर्म र आध्यात्मिक परम्पराका प्रमुख व्यक्तित्वहरूबारे गहिरो रूपमा बोलेका छन्। 

उनले हिन्दू धर्मका कृष्ण, राम र भगवद्गीता, बौद्ध धर्मका गौतम बुद्ध, जैन धर्मका महावीर, इसाई धर्मका येशू ख्रीष्ट, इस्लामका मोहम्मद, ताओ धर्मका लाओत्से तथा सूफी परम्पराका रूमी र कबीर जस्ता व्यक्तित्वहरूको चर्चा गरेका छन्। 

उनका अनुसार यी सबै परम्पराहरूको मूल उद्देश्य ‘मानव चेतनाको रूपान्तरण र आत्मबोध’ रहेको बताएका छन्।  उनले कुनै एक धर्मलाई मात्र अन्तिम सत्य मान्दैनथे, बरु सबैलाई चेतनाको फरक-फरक मार्गका रूपमा व्याख्या गर्थे।

त्यसमध्ये उनले कृष्णका बारेमा दिएको प्रवचनको केहि अंश:

कृष्ण कुनै साधक होइनन्। उनलाई साधक भनेर सम्बोधन गर्नु गलत हुनेछ। उनी एक सिद्ध हुन् जीवनको कलाका पारंगत र निपुण कलाकार। र उनले यस सिद्धावस्थामा मनको चरम अवस्थामा जे भन्छन् त्यो तिमीलाई अहंकारपूर्ण लाग्न सक्छ तर वास्तवमा त्यस्तो होइन। कठिनाइ के हो भने कृष्णले पनि त्यही भाषिक ‘म’ को प्रयोग गर्नुपर्छ जसको प्रयोग तिमी गर्छौ। तर उनको ‘म’ र तिम्रो ‘म’ को प्रयोगमा धेरै फरक छ। जब तिमी ‘म’ भन्छौ त्यसको अर्थ हुन्छ शरीरभित्र कैद भएको अस्तित्व तर जब कृष्ण ‘म’ भन्छन् त्यसको अर्थ हुन्छ पूरै ब्रह्माण्डमा व्यापक चेतना। त्यसैले उनीमा यो भन्न सक्ने साहस छ ‘सबै छोडेर मेरो शरणमा आ।’ यदि यो तिम्रो ‘म’ हुन्थ्यो शरीरको कैदी भने यस्तो भन्न सम्भव हुने थिएन। र यदि कृष्णको ‘म’ पनि तिम्रो जस्तै सानो हुन्थ्यो भने त्यसले अर्जुनलाई कष्ट दिन्थ्यो। अर्जुन तुरुन्तै प्रतिवाद गर्थे ‘तपाईं के भन्नुहुन्छ म किन तपाईंको अगाडि समर्पण गरूँ’ अर्जुनलाई धेरै पीडा हुन्थ्यो तर त्यस्तो भएन।

जब कुनै व्यक्ति कसैसँग अहंकारको भाषामा बोल्छ तब अर्कोको भित्र पनि तुरुन्तै अहंकारको प्रतिक्रिया उत्पन्न हुन्छ। जब तिमी अहंकारयुक्त ‘म’ को भाषामा बोल्छौ अर्कोले पनि त्यही भाषा तुरुन्तै अपनाउँछ। हामी एकअर्काका शब्दहरूको पछाडि लुकेको अर्थ बुझ्न सक्षम हुन्छौं र छिट्टै प्रतिक्रिया दिन्छौं।

तर कृष्णको ‘म’ अहंकारका सबै चिन्हहरूबाट मुक्त छ त्यसैले उनी अर्जुनलाई निर्दोष समर्पणका लागि बोलाउन सके। यहाँ ‘मेरो प्रति समर्पण’ भन्नुको वास्तविक अर्थ हो ‘पूर्ण प्रति समर्पण’ त्यो मौलिक र रहस्यमय ऊर्जा जसले ब्रह्माण्ड भरि व्याप्त छ।

निरअहंकार बुद्ध र महावीरमा पनि आएको छ तर उनीहरूमा त्यो धेरै लामो संघर्ष र परिश्रमपछि आएको हो। तर सम्भव छ कि उनका धेरै अनुयायीहरूमा त्यो नआओस् किनकि त्यो उनीहरूको मार्गको अन्तिम उपलब्धि हो। त्यसैले अनुयायी त्यहाँ पुग्न सक्छन् वा नपुग्न पनि सक्छन्। तर कृष्णका साथ निरअहंकार सुरुमै आउँछ। उनी त्यहाँबाट सुरु हुन्छन् जहाँ बुद्ध र महावीर समाप्त हुन्छन्। त्यसैले जो कोही कृष्णसँग जान चाहन्छ उसले यो कुरा सुरुदेखि नै आत्मसात गर्नुपर्छ। यदि ऊ असफल हुन्छ भने कृष्णसँग जाने कुनै प्रश्न नै उठ्दैन।

महावीरको सान्निध्यमा तिमी आफ्नो ‘अहम्’ समातेका समातेकै धेरै टाढासम्म जान सक्छौ तर कृष्णसँग तिमीले आफ्नो ‘अहम्’ पहिलो चरणमै त्याग्नुपर्छ नत्र तिमी उनीसँग जान सक्दैनौ। तिम्रो अहम् महावीरसँग केही हदसम्म स्थान पाउन सक्छ तर कृष्णसँग होइन। कृष्णसँग पहिलो चरण नै अन्तिम हो महावीर र बुद्धसँग अन्तिम चरण नै पहिलो हो। यो अन्तर बुझ्नु तिम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ किनकि यो धेरै गहिरो र आधारभूत फरक हो।

कृष्णलाई बुझ्नु अत्यन्त कठिन छ। यो बुझ्न सजिलो छ कि कुनै व्यक्ति शान्तिको खोजीमा संसारबाट टाढा जान्छ तर यो स्वीकार गर्न गाह्रो छ कि कोही भरिएको बजारमै शान्ति पाउन सक्छ। यो बुझ्न सजिलो छ कि व्यक्ति आफ्ना आसक्तिहरूबाट मुक्त भयो भने मनको शुद्ध अवस्था प्राप्त गर्न सक्छ तर यो स्वीकार गर्न गाह्रो छ कि सम्बन्ध र आसक्तिहरूको बीचमै रहेर पनि कोही अनासक्त र निर्दोष रहन सक्छ कोही आँधीबेहरीको बीचमै शान्त रहन सक्छ।

यो मान्न गाह्रो छैन कि यदि दीपकको ज्वाला तेज हावाबाट टाढा एकान्तमा छ भने त्यो स्थिर रहनेछ तर यो कसरी विश्वास गर्ने कि एउटा बत्ती तेज आँधीबेहरीको बीचमा पनि जलिरहन सक्छ। त्यसैले कृष्णका निकट भएका मानिसहरूका लागि पनि उनलाई बुझ्न गाह्रो हुन्छ।

तिमी कुनै व्यक्तिको बारेमा बाहिरबाट निर्णय गर्न सक्दैनौ कि ऊ बुद्धिमान् हो कि मूर्ख किनकि धेरैपटक उनीहरूको व्यवहार एउटै जस्तो देखिन सक्छ।

गीतामा कृष्ण अर्जुनलाई भन्छन् ‘लड तर परमात्माप्रति पूर्ण समर्पणका साथ लड माध्यम बन।’ समर्पणको अर्थ हो पूर्ण जागरूकता नत्र समर्पण सम्भव छैन। समर्पण भनेको अहंकारलाई त्याग्नु हो किनकि अहंकार नै अचेतनता हो। कृष्ण भन्छन् ‘अहंकारलाई छोड देऊ र सबै परमात्मामा समर्पण गर त्यसपछि जे हुन्छ त्यो राम्रो हुन्छ।’

अर्जुन बारम्बार तर्क गर्छन्। उनी भन्छन् ‘यी निर्दोष मानिसहरूलाई मार्नु केवल राज्यका लागि यति धेरै हत्या गर्नु यो कसरी ठीक हुन सक्छ म त सबै त्यागेर जंगलमा गएर भिक्षु बन्न रुचाउँछु।’

यदि तिमी बाहिरबाट मात्र हेर्छौ भने अर्जुन कृष्णभन्दा बढी धार्मिक देखिन्छन्। उनी बढी नैतिक देखिन्छन्। कृष्ण भने उल्टो देखिन्छन् खतरनाक जस्ता। उनी भन्छन् ‘यो भाग्ने प्रवृत्ति छोड यो तिम्रो लागि होइन सबै परमात्मामा छोड देऊ तिमी कुनै निर्णय नगर केवल शान्त होऊ र उसलाई तिमीमार्फत काम गर्न देऊ त्यसपछि जे हुन्छ यदि ऊ तिमीलाई भिक्षु बनाउन चाहन्छ भने भिक्षु बनाउनेछ यदि योद्धा बनाउन चाहन्छ भने योद्धा बनाउनेछ।’

अर्जुन बढी नैतिक र निष्ठावान् देखिन्छन् तर कृष्ण एक जागृत चेतना हुन्। उनी भन्छन् ‘तिमी कुनै निर्णय नगर किनकि तिम्रो अचेतनबाट आएको निर्णय गलत हुनेछ अचेतन नै गलत छ’ एक मूर्ख व्यक्ति अचेतनमा बाँच्दछ। यदि उसले राम्रो गर्न खोजे पनि अन्ततः गलत नै हुन्छ।

ओशो इन्टरनेशनलबाट साभार 

‘आमा तिमी मूर्ख हौ’

आमा तिमी मूर्ख हौ
००००००

तिमी महान् होइनौ; मूर्ख हौ
देवी होइनौ; दासी हौ।

मध्येरातमा घर छेउकै सडकपेटीमा पुगेर
शरीरमा जाँड मुतेर पल्टिन्छ एक लोग्ने मान्छे

टोल थर्किनेगरी, अश्लील गाली गर्छ तिमीलाई
तिमी काँध हालेर ल्याउँछौ घर

ऊ दैलोमा बजार्छ लात्ती
उखेल्छ तिम्रा रौंहरू

तिम्रै मुखमा फालिदिन्छ तिमीले प्रेमले पस्किएको भात
अगुल्टोले हिर्काउँछ तिमीलाई

चिथोर्छ, लुच्छ, थिलथिलो पार्छ
खेल्छ तिम्रो शरीरसित

तिमी सृष्टि हैनौ
स्वास्नी हौ
फगत स्वास्नी
केवल एक आइमाई मान्छे।

तिमीले सपना देख्न छाडिदियौ
सहादता दियौ प्रेमको
हत्या गर्यौ रहरहरूको
आगो लगायौ आफ्नै सपनाहरूमा

अब तिमीसँग तिम्रो आवाज छैन
तिमीसँग तिम्रा सपनाहरू छैनन्
तिमीसँग तिमी हुनुको पहिचान छैन
तिमीसँग तिम्रै जिन्दगी पनि छैन

तिमी माटो हौ
पोखरीको डिलको एक डल्लो माटो
जसलाई जसले जसरी पनि खेलाउन सक्छ

प्रतिकारका लागि छैनन् तिमीसँग मुठ्ठीहरू
बोक्सी भनेर मलमूत्र खुवाउन होस्
वा कपाल मुडेर गाउँ डुलाउन
वेश्या भनेर नाङ्गै लखेट्न होस्
वा दाइजोमा जोखेर जिउँदै जलाउन

तिमीभन्दा सस्तो खेलौना नै के छ अरु?

एक चोटा भान्साघर,
एक थान वासिङ मेसिन,
एक टिफिनको डिब्बा,
एक अञ्जुली पँधेरो,
एक दाना खेत,
एक कोसा करेसाबारी,
एक भारी वन,
एक बटुका तेल,
अनि एक ओछ्यान रात

यो भन्दा बढ्ता के हौ तिमी?

म सराप्छु तिम्रो ममतालाई
धिक्कार तिम्रो सहनशीलता

मलाई थुक्न मन छ- तिम्रो देवताको मुखमा
सक्थेँ भने म,
मेटाइदिन्थेँ मभित्रको तिम्रो दासत्वको अंश
च्यातिदिन्थेँ तिम्रो स्वाँठ आधा आकाशको बिर्ता

यो सुन्निएको आँखा
तेजाब भरिएको अनुहार
यी कलेटी परेका ओठ
पट्पटी फुटेका हत्केला
सडेका पैताला
घाउले भरिएको पिठ्युँ

यो सबलाई तिमी महान् भन्छौ?
धर्तीको सहनशीलता भन्छौ ?
र भन्छौ आफू बाँच्नुको धर्म ?

तिम्रो त जन्मै पनि दुर्घटना हो
तिमी नचाहिएकी हौ
तिमी नरुचाइएकी हौ

यी हजार अत्याचारहरू साक्षी छन्
यी हजार उत्पीडनहरू साक्षी छन्

तिमी महान् होइनौ; मूर्ख हौ
देवी होइनौ; दासी हौ।

विद्यादेवी भण्डारीद्वारा मदन भण्डारी हिरक जयन्ती तयारीबारे छलफल

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका सचिव भानुभक्त ढकालसहित जनवर्गीय संगठनका नेताहरूसँग छलफल गरेकी छन्।

नेताहरूका अनुसार मदन भण्डारीको हिरक जयन्तीलाई व्यवस्थित रूपमा मनाउने विषयमा मदन भण्डारी फाउन्डेसनको कार्यालयमा बैठक बसेको हो। छलफलमा जयन्तीलाई प्रभावकारी र भव्य रूपमा आयोजना गर्ने विषयमा गहन विचारविमर्श गरिएको एक सहभागीले बताए।

मदन भण्डारीको हिरक जयन्ती मनाउन फाउन्डेसनले छुट्टै समिति गठन गरिसकेको छ, जसले कार्यक्रमको तयारी र व्यवस्थापनको जिम्मेवारी लिएको छ।

योजनाबद्ध झुटा मुद्दाबाट चरित्रहत्या नगर्न महेश बस्नेतकाे सरकारलाई चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नो राजनीतिक तथा सामाजिक जीवन समाप्त गर्ने उद्देश्यले आफूविरुद्ध योजनाबद्ध रूपमा झुटा मुद्दा दर्ता गरिएको आरोप लगाएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले २०८० फागुन ९ गते दर्ता गरिएको गम्भीर प्रकृतिको मुद्दामा काठमाडौं प्रहरी र सरकारी वकिल कार्यालयले अनुसन्धानपछि आरोप भ्रामक ठहर गर्दै तामेलीमा राखेको बताएका छन्। सो निर्णयविरुद्ध परेको रिटसमेत उच्च अदालत पाटनले खारेज गरेपछि आफूले सफाइ पाएको उनको भनाइ छ।

‘काठमाडौं  प्रहरी सरकारी ओकिल कार्यालयले विस्तृत अनुसन्धान गरी आरोप भ्रामक र कपोलकल्पित भएको ठहर गर्दै मुद्दा तामेलीमा राख्यो’, उनले लेखेका छन्, ‘सो निर्णयविरुद्ध उच्च अदालत पाटनमा मिति २०८१/०१/०४ मा रिट दर्ता भएर मिति २०८१/०५/२६ मा रिट निवेदन खारेज भई तामेली सदर भयो र मैले सफाइ पाएँ।’

बस्नेतका अनुसार त्यसपछि पुनः पूरक जाहेरी दर्ता गरिए पनि पर्याप्त प्रमाण नभएको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा अघि नबढाउने निर्णय गरेको र सो विरुद्धको रिट पनि खारेज भएको छ। तर पुनः तेस्रोपटक नयाँ आधार देखाएर जाहेरी दर्ता गरिनु आफूलाई फसाउने प्रयास भएको उनले दाबी गरेका छन्।

‘यति हुँदाहुँदै पनि तेस्रो पटक मिति २०८२/ चैत्र १६ गते गुगल फोटोबाट भेटे भनेर मनमोहन अस्पतालको एउटा हद म्याद नागेको अल्ट्रासाउन्ड रिपोर्टलाई गर्भ पतन गराएको भनि आधार बनाई पुनः जाहेरी दर्ता  गरी पक्राउ पुर्जी माग गरियो’, उनले अगाडि थपे। 

बस्नेतले एउटै विषयमा पटक पटक मुद्दा दर्ता गर्नु कानुनी र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको उल्लेख गर्दै सरकारसँग यस्ता गतिविधि रोक्न ध्यानाकर्षण गराएका छन्।

बस्नेतले लेखेका छन्, ‘प्रत्येक व्यक्तिको कानुनी अधिकार र मानवअधिकार संरक्षण गर्नु सरकारको दायित्व तसर्थ यस्ता गतिविधि  रोक्न सरकारसँग गम्भीर ध्यानाकर्षण गराउँछु।’ 

 साथै, आफ्ना समर्थकहरूमाथि पनि पक्राउ पुर्जी जारी गरिएको भन्दै उनले त्यसलाई ‘राज्य आतंक’ को संज्ञा दिएका छन्।

बेपत्ता पुरुषको बाँसघारीमा शव फेला

धनुषा। धनुषामा तीन दिनदेखि बेपत्ता रहेका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

बुधबार साँझदेखि सम्पर्कविहीन भएका बटेश्वर गाउँपालिका-४ का ६० वर्षीय जगतबहादुर थापाको शव शुक्रबार बिहान स्थानीय जगदीश रविदासको बाँसघारीमा भेटिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए।

मृतकका छोरा अमित थापाका अनुसार बुधबार साँझदेखि नै जगतबहादुर बेपत्ता भएका थिए। त्यस समयमा उनले मादक पदार्थ सेवन गरेको बताइएको छ।

अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। यद्यपि वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।

प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

नेप्से उकालो लाग्यो

काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से (नेपाल स्टक एक्सचेन्ज) झिनो अंकले बढेको छ।

बजार ५.३६ अंकले बढेर नेप्से परिसूचक २८८३.४० विन्दुमा बन्द भएको छ।

कारोबार रकमका आधारमा भने बजार घटेको छ। बिहीबार ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको नेप्सेले जनाएको छ।

समूहगत सूचकतर्फ होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूहको सूचक बढेको छ भने बाँकी समूह घटेका छन्।

उत्पादन समूह सबैभन्दा धेरै १६२.१६ अंकले घटेको छ भने निर्जीवन बीमा समूह ५७.८८ अंकले घटेको छ।

आज ३३५ कम्पनीको सेयर कारोबार हुँदा १०८ कम्पनीको मूल्य बढेको, १५० कम्पनीको घटेको र १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबार रकम र सेयर संख्याका आधारमा नेसनल हाइड्रोपावर कम्पनी अगाडि रहेको छ, जसको ६६ करोड ८६ लाख रुपैयाँ बराबरको २१ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ।

यस दिन ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ। सूर्यकुण्ड जलविद्युत्, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र रिजलाइन इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ।

युद्व नरोकिए गम्भीर तेल अभाव झेल्नुपर्ने आईएमएफको चेतावनी

एजेन्सी। अन्तर्राष्ट्रिय मुद्रा कोषले इरानसँगको युद्ध छिट्टै समाधान भए पनि यस वर्ष विश्वले तेल अभाव झेल्नुपर्ने चेतावनी दिएको छ। द्वन्द्वका सम्भावित गम्भीर आर्थिक प्रभावबारे चेतावनी दिने प्रमुख निकायमध्ये आईएमएफ पछिल्लो संस्था बनेको हो।

कोषले उच्च ऊर्जा मूल्यबाट उपभोक्तालाई जोगाउने नाममा अत्यधिक सरकारी खर्च नगर्न पनि सुझाव दिएको छ। युद्धअघि नै सार्वजनिक वित्तमा दबाब रहेकाले थप जोखिम लिन नहुने उल्लेख गरिएको छ।

आईएमएफका मुख्य अर्थशास्त्री पियरे-ओलिभर गोरिन्चासका अनुसार, ‘आजै युद्ध रोकिएर हर्मुज जलडमरू खुला भए पनि यस वर्ष तेल अभाव देखिन सक्नेछ।’

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी का अनुसार मार्च महिनामा विश्वव्यापी तेल आपूर्ति दैनिक १०.१ मिलियन ब्यारेलले घटेको छ, जुन इतिहासकै ठूलो गिरावट हो। यद्यपि एजेन्सीले पूर्ण अभाव नदेखे पनि आपूर्ति वृद्धि अपेक्षा निकै घटाएको जनाएको छ।

युद्धअघि विश्व अर्थतन्त्र सकारात्मक दिशामा रहेको भए पनि अहिले अवस्था अचानक बिग्रिएको आईएमएफले जनाएको छ। कोषका अनुसार २०२६ मा विश्व आर्थिक वृद्धि दर ३.१ प्रतिशत रहने अनुमान गरिएको छ, जुन अघिल्लो अनुमानभन्दा कम हो। यस वर्ष मुद्रास्फीति बढेर ४.४ प्रतिशत पुग्ने देखिएको छ।

यदि द्वन्द्व लामो समयसम्म चल्यो भने अवस्था अझ गम्भीर बन्न सक्ने आईएमएफले जनाएको छ। ऊर्जा मूल्य १०० देखि २०० प्रतिशतसम्म बढेमा विश्व आर्थिक वृद्धि २ प्रतिशतमा सीमित हुन सक्छ, जुन विश्वव्यापी मन्दी नजिकको अवस्था मानिन्छ।

इरानले हर्मुज जलडमरू प्रभावकारी रूपमा बन्द गरेपछि विश्वको करिब २० प्रतिशत तेल आपूर्ति प्रभावित भएको छ। यसको असर विशेषगरी एसिया-प्रशान्त क्षेत्रमा देखिन थालेको छ, जहाँ इन्धन अभाव र मूल्यवृद्धि भइरहेको छ।

अस्ट्रेलिया का अर्थमन्त्री जिम चालमर्स ले पनि विश्व अर्थतन्त्र ‘खतरनाक चरण’ मा प्रवेश गरेको चेतावनी दिएका छन्। उनले युद्धका कारण उत्पन्न आर्थिक धक्काबाट कुनै पनि देश पूर्ण रूपमा सुरक्षित नरहने बताएका छन्।

ऊर्जा संकटको प्रभाव कम गर्न अस्ट्रेलियाले पेट्रोल र डिजेलमा कर अस्थायी रूपमा घटाएको छ। साथै, अन्तर्राष्ट्रिय स्तरमा युद्ध अन्त्यका लागि पहल गर्नुपर्नेमा जोड दिइएको छ।

समग्रमा, आईएमएफको विश्लेषणले इरान युद्धले विश्वव्यापी ऊर्जा बजार र अर्थतन्त्रमा दीर्घकालीन असर पार्न सक्ने स्पष्ट संकेत गरेको छ।

‘एक सुन्दरी वेश्या प्रति’

म स्वप्निंदो छु उर्वशी, जिलाउँदो छु मेनका ! 

मलाई दिव्य कामिनीको तिर्सना अनन्त छ ! 

म मत्तमा ! म मस्तमा ! मलाई प्यास सुन्दर !

म अड्छु ! फुल्छु, हेर्छु रे ! मनुष्य पुष्प फर्फर !

 

इशार, फुल्छ चित्त यो ! पुकार, चल्छ छाति यो ! 

म मासुको गुलाफको मिठास के गरी? भूलूँ 

निसर्गको छ ऐन यो ! छ कृष्णलाई चैन यो ! 

समाधि मग्न शम्भुको प्रकोपवादको खुशी ! 

 

म दीपको पतङ्गको उडान निम्ति वार के ! 

यही त ब्रह्मपाश हो ! र बाँधिने मिठास हो ! 

यही चकोर प्यास हो ! हुनाको मात, आश हो !

म पौडिने तरङ्ग हो ! म मस्तिने सुवास हो ! 

 

‘सुटुक्क झट्ट आ !’ भनी रुमाल फर्फराउँछयौ ? 

कटाक्ष तीक्ष्ण लाउँछउौ ? सवाल मौन ल्याउँछयौ ? 

यहीं छ द्धार, देख्छु है ! ए पर्ख ! क्यै निरख्छु है ! 

म देख्छु छूत मृत्युको ! त्यो चोइटो खसेछ है !

 

यहाँ त मृत्यु देखिनै हुँदैन रे तिमी जहाँ ! 

न हाँस ! कालको कथा कता कता सुनिन्छ है ! 

तिमी नजीक काल के ? म कालसाथ लड्दछु !

तिमी भिडाउ सुन्दरी ? म मृत्यु साथ भिड्दछु ! 

 

उषा थिइन्, जली मरिन्! सुवर्ण साँझ अल्पिइन् 

न आँशु, हुन्, न तारका, वितान झल्झलाउँछ ! 

न देखिने खुँडा लिने मलाई क्वै सताउँछ ! 

कुचाल मार्छ सुस्तरी ममा प्रहार गर्न ए !

 

प्रसूनसाथ रोइनौ ? निशाग्र दृष्टि धोइनौ ? 

र पुत्तली पखेरुका सुवर्ण धूल छोइनौ ? 

सुचारु साँझ जल्दथिन्, तिनी अगाडि रोइनौ ? 

गलेर चाँदनी कणी, जली, ढली, थपोइनौ ?

 

म मार्छु मृत्यु सुन्दरी ! म क्रोधमा छु ! मार्न द्यौ ! 

विनाश चाल मार्छ रे ! म रोक्छु गर्व झर्न द्यौ !

म फूल झर्न दिन्न रे ! म रङ्ग उड्न दिन्न रे ! 

अहा ! यो मुस्कुरी पला अमोल हिँडन दिन्न रे ! 

 

तँ वैंश ! अड ! नमर् ! नमर् ! म गाउँला सदा ! सदा !

सुरा न सिद्धियोस् परी ! नशा भरी, र प्यास होस्!

तँ झ्यालको न नाश होस्! तँ दृष्टि नित्य दास होस् !

झकाइ, यो अटूट होस् ! तिमी, सदा निमन्त्रणा !

 

ए चन्द्रमा ! कला नफेर्! तँ मेघ हे ! नजा नघेर्! 

तँ पोज बस्! तँ ओठ जी ! ‘मुसुक्क !’ मर्त्यता नवर् ! 

तँ नूर हो स्थिरप्रभा ! यहाँ छ कामिनीशिखा

धधग धधग ज्वलन्त जो, तँ चित्त ! नित्य धग्धगा !

 

 निचोर सृष्टिकी तिमी सजीव कामिनी बन्यौ !

तिमी, ममा छ विश्वको त फ्याक, फ्याक रे मुटु ! 

तिमी, म साथ चल्छ यो ! तिमी, म साथ फुल्छ यो ! 

हिमाल सम्झ पार्वती ! रसालकुञ्ज, राधिके !

 

अचम्म ! छौ बजारमा ? यहाँ कसोरि छौ तिमी ?

विशाल सृष्टि–वल्लरी प्रफल्ल एक पुष्प ए ?

म सोध्छु ए ! विचित्रकी तरङ्ग ! वृत्ति–बावली !

मभित्र बज्छ बाँसुरी, मिहीन औ पुरानिया ! 

 

म पूर्ण आफू दिन्छु हे ! जुहारलाई ज्यान् होस !

मुहारलाई प्राण होस् ! मिटान निम्ति शान होस्!

म दिन्न अंशदान ए ! म सिंगुलै चढाउँछु !

नमाग यत्ति मात्र रे ! म आउँदो छु ! धाउँछु !

 

तिमी त सृष्टिधूलिका, मिले म विश्व रच्दछु !

विशाल सूनसान नै बसाउनेछु सुन्दरी !

कुँदेर चन्द्रखण्ड यो अपूर्व शिल्पकारले

छ मर्नु ! यत्ति मोलमा बिक्यौ भने प्रभावकारी !

 

बुझें ! बनेर व्यङ्ग्यकी विशालता तिमी बस्यौ

बजारमा समाजको, गिज्याइ आजको मुख ?

जहाँ छ साँढे स्वार्थको सुचारु पुष्पभक्षक !

जहाँ छ राज्य मासुको र आँशुको जलाशय !

 

छ कीट लुब्ध पुष्पमा ! विनाशसार प्यार छ !

ठगी, अपूर्व रुपको ! र नोटको बजार छ !

चुरो किनिन्छ मानवी ! गरीबमाथि मार छ !

जहाँ समाज नामको कुनर्कको मुहार छ !

 

 समानता अजीव छन् जहाँ, र ढ्वाँग सार छ !

अहा ! बनेर व्यङ्ग्यकी प्रदीपिका जल्यौ तिमी !

तिमी मनुष्य मातृका ! तिमी सुधा ! तिमी क्षुधा !

विशाल विश्वदीपिका तिमी ! तमोमयी तृषा ?

 

यो लात हो विरिञ्चीमा ! यो सृष्टिमाथि लाञ्छना !

निसर्गको प्रवञ्चना ! यो दागदीप आजको ?

विशाल व्यङ्ग्य, व्यङ्ग्य हो ! समाजको समाजको !

प्रकोपमूर्छिता चिता ! कराल सुन्दरी तिमी !

 

निशुम्भ, शुम्भ डाक्तछयौ ? प्रचण्ड, चण्ड, मुण्ड के ?

लगाइ रुण्ड मुण्ड के ! छछम्! छछम्! धिधिक्! धिधिक्!

धपक्क बल्न इच्छियौ? जमीन डग्डगाउँदै ?

ए व्यङ्ग्य ! व्यङ्ग्य नै बनी गिगिल्ल, हाँस झ्यालमा ! 

६२ वर्षीया वृद्वालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना युवा पक्राउ

काठमाडाैं। गुल्मीमा ६२ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्लाको सत्यवती गाउँपालिकाका -४ का २३ वर्षीय आशिष ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

पक्राउ परेका ज्ञवालीले सोही गाउँपालिकाका ६२ वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक(डिएसपी) गंगाबहादुर सारुका अनुसार ज्ञवालीले वैशाख १ गते साँझ ५ः०० बजेको समयमा नदेवा क्षेत्रमा जबरजस्ती करणी गरेको आरोप छ।

‘रामायणम्’मा साई पल्लवीले कति लिईन फीस ?

काठमाडौं। चार हजार करोड बजेटमा निर्माण भइरहेको बलिउड चलचित्र ‘रामायणम्’ यतिबेला चर्चाको केन्द्रमा रहेको छ। यसको भव्य सेट, ध्वनि, कलाकार र पारिश्रमिकबारे व्यापक चर्चा भइरहेको छ।

यस चलचित्रमा सीताको भूमिकामा दक्षिण भारतीय अभिनेत्री साई पल्लवी देखिने भएकी छन्। उनको पारिश्रमिक सार्वजनिक भएपछि ९० को दशकको चर्चित टेलिभिजन सिरियलसँग तुलना हुन थालेको छ।

‘रामायणम्’का दुई संस्करणका लागि साई पल्लवीले कुल १२ करोड रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ। अर्थात् उनले एक संस्करणका लागि ६ करोड रुपैयाँ लिएकी हुन्।

यससँगै ९० को दशकमा रामानन्द सागर द्वारा निर्माण गरिएको रामायण सिरियलको सम्झना गरिएको छ। उक्त सिरियलमा सीताको भूमिका निर्वाह गरेकी दीपिका चिखलिया ले जम्मा २० लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन्।

त्यतिबेला उक्त सिरियलको कुल बजेट करिब ७ करोड रुपैयाँ थियो भने एउटा भाग निर्माण गर्न झन्डै ९ लाख रुपैयाँ खर्च हुने गरेको थियो।

समयसँगै चलचित्र उद्योगमा आएको परिवर्तन, प्रविधिको विकास र बजार विस्तारका कारण पारिश्रमिकमा ठूलो अन्तर देखिएको विश्लेषकहरू बताउँछन्।

दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

काठमाडौं। इजरायल र लेबनानबीच १० दिने युद्धविराम लागू हुनुभन्दा केही घण्टा अघि नै इजरायल रक्षा बलले दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा ठूलो मात्रामा हवाई आक्रमण गरेको छ। स्थानीय समयअनुसार बिहीबार राति र शुक्रबार मध्यरातमा युद्धविराम सुरु हुने तयारी भइरहेका बेला आक्रमण भएको हो।

लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली हवाई आक्रमणमा धेरै व्यक्ति मारिएका वा घाइते भएका छन्, जसमा केही चिकित्सा कर्मचारीहरू पनि रहेका छन्। आक्रमणका क्रममा दक्षिणी लेबनानको लितानी नदीमाथि रहेको कास्मीयेह पुल दुई चरणको हवाई आक्रमणपछि पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ।

लेबनानी सेनाले यो आक्रमणको उद्देश्य लितानी नदी दक्षिणको क्षेत्रलाई देशका अन्य भागबाट अलग गर्नु रहेको दाबी गरेको छ। सेनाले क्षतिको मूल्याङ्कन गर्दै मर्मतका लागि विशेषज्ञ टोली परिचालन गर्ने जनाएको छ।

यसैबीच हिजबुल्लाहले दक्षिणी इजरायलका केही सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ। इजरायली सेनाले भने उत्तरी इजरायलतर्फ लेबनानबाट रकेट प्रहार भएको पुष्टि गरेको छ।

साथै, इजरायली सेनाले हिजबुल्लाहका दर्जनौं लडाकु मारिएको र हतियार तथा पूर्वाधार नष्ट गरिएको दाबी गरेको छ। स्थिति अझै तनावपूर्ण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आर्मीले जित्यो तेस्रोपटक प्रधानमन्त्री कपको उपाधी

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि तेस्रोपटक जितेको छ।

शुक्रबार सम्पन्न फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै उपाधि उचालेको हो। यसअघि आर्मीले २०१७ र २०२१ मा पनि उपाधि जितेको थियो।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो। आर्मीको जितमा इम्रान शेखले अविजित ४६ रन बनाए भने बसिर अहमदले ४५ रनको योगदान दिए। यी दुईले महत्वपूर्ण साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्‍याए।

आर्मीका लागि तृतराज दासले ३१ र कुशल मल्लले १७ रन जोडे। सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए भने विकास आग्री, शेर मल्ल र आशोक धामीले समान एक–एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ३९.४ ओभरमा १६१ रनमै समेटिएको थियो। अशोक धामीले ४३ र किरण ठगुन्नाले ३५ रन बनाए। आर्मीका आकाश चन्द र साहब आलमले तीन-तीन विकेट लिए।

संसदीय समितिका बैठकमा पत्रकारलाई निषेध

काठमाडौं। संसदीय समितिको बैठकमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ। शुक्रबार विभिन्न संसदीय समितिका सभापतिहरूको निर्वाचन भइरहँदा यस्तो व्यवस्था गरिएको हो।

अधिकांश समितिका सभापति सर्वसम्मत रूपमा निर्वाचित भए भने दुई समितिमा एकभन्दा बढी उम्मेदवारी परेपछि निर्वाचन प्रक्रियाबाट सभापति चयन गरिएको थियो।

यसक्रममा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको सुरुआतमा भने पत्रकारहरूलाई फोटो खिच्न अनुमति दिइएको थियो। तर त्यसपछि पत्रकारहरूलाई सभाकक्षमा बस्न नदिई बाहिर निकालिएको थियो।

पत्रकारहरूलाई बाहिर पठाएपछि समितिको बाँकी बैठक कार्यसूची अगाडि बढाइएको थियो।

वन्यजन्तु सप्ताह विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं। एकतिसौँ राष्ट्रिय वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदै छ। यही वैशाख १ गतेदेखि सुरु भएको सप्ताह चितवन राष्ट्रिय निकुञ्ज तथा सरोकारवालाहरूको सहभागितामा विभिन्न कार्यक्रममार्फत सञ्चालन भइरहेको छ।

यसै क्रममा आज सिमसार तथा नदी सरसफाइ कार्यक्रम गरिएको छ। सौराहादेखि गोलाघाटसम्म र नारायणी नदीको पश्चिमी किनार क्षेत्र सरसफाइ गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो। उहाँका अनुसार सिमसार क्षेत्र र नदी सरसफाइले वन्यजन्तुका लागि आवश्यक पानी स्रोत संरक्षणमा सहयोग पुग्ने भएकाले हरेक वर्ष यो कार्यक्रम गरिँदै आएको हो।

यसअघि वैशाख २ गते चरा अवलोकन कार्यक्रम, ३ गते प्लास्टिक निषेधित क्षेत्र घोषणा कार्यान्वयनसम्बन्धी सरोकारवालासँग छलफल गरिएको थियो।

त्यस्तै, वैशाख ५ गते मानव-वन्यजन्तु सहअस्तित्वसम्बन्धी छलफल तथा अन्तरक्रिया, ६ गते विद्यालयस्तरीय चित्रकला प्रतियोगिता तथा वन्यजन्तुबाट टुहुरा भएका बालबालिकालाई छात्रवृत्ति वितरण, र ७ गते वन्यजन्तु बासस्थान व्यवस्थापनसम्बन्धी स्थलगत जागरण तथा अन्तरक्रिया गरिने कार्यक्रम रहेको छ।

सूचना अधिकारी थापामगरका अनुसार वन्यजन्तु सप्ताहले वन्यजन्तु र सिमसार क्षेत्रले मानव जीवनमा पार्ने प्रभावबारे जनचेतना बढाउँदै संरक्षणतर्फ अभिप्रेरित गर्ने अपेक्षा गरिएको छ।

सुर्खेतमा नबिलको निःशुल्क जलन उपचार शिविर : १९४ जना लाभान्वित

काठमाडौं। सुर्खेतस्थित प्रादेशिक अस्पतालमा सञ्चालन गरिएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् ।

प्रादेशिक अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा गत चैत २७ देखि तीन दिनसम्म शिविर सञ्चालन गरिएको हो ।

शिविरमा आएका ३९ जना बिरामीको विशेषज्ञ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ। जटिल अवस्थाका एक जना बिरामीलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा रेफर गरिएको छ। आर्थिक अवस्था कमजोर भएका तथा लामो समयदेखि उपचार नपाएका बिरामीहरूले यस शिविरमार्फत निःशुल्क सेवा पाएका थिए।

सिन्जा गाउँपालिका-५ की सम्झना रोकायाले शल्यक्रियापछि आफ्नो अवस्थाबारे प्रतिक्रिया दिँदै हात चलाउन नसक्ने अवस्था सुधार भएको र अब दैनिक काम आफैं गर्न सक्ने विश्वास जागेको बताइन्। उनले उपचारमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा जलन पीडितलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताए। उनले आगामी दिनमा यस्ता कार्यक्रम लुम्बिनी र मधेश प्रदेशमा पनि विस्तार गरिने जानकारी दिए।

फेक्ट नेपाल र कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राई सहित विशेषज्ञ चिकित्सकहरूको टोलीले शिविरमा शल्यक्रिया तथा उपचार सेवा प्रदान गरेको थियो।

शिविर सञ्चालन गर्नुअघि कर्णालीका विभिन्न जिल्लाका १६ स्थानमा प्रारम्भिक परीक्षण (स्क्रिनिङ) शिविर सञ्चालन गरिएको थियो, जहाँ स्वास्थ्यकर्मीहरूले बिरामीहरूको पहिचान र विवरण संकलन गरेका थिए।

प्रादेशिक अस्पताल सुर्खेतका निर्देशक डा. गणेश थापाले दुर्गम क्षेत्रमा अझै पनि धेरै मानिसहरू उचित उपचारबाट वञ्चित रहेको उल्लेख गर्दै यस्ता शिविरले ठूलो राहत दिएको बताए।

यसअघि बैंकले सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि यस्तै निःशुल्क जलन उपचार शिविर सञ्चालन गरेको थियो, जसबाट ६५ जना बिरामीले सेवा पाएका थिए।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक(तस्बिरहरु)

काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज सिंहदरबारमा बसिरहेको छ। 

आजै गठन भएको समितिको पहिलो बैठकमा गृहमन्त्री सुधन गुरुङसमेत सहभागी भएका छन्।

बैठकमा नवगठित समितिको कार्ययोजना, प्राथमिकता र भावी कार्यक्रमबारे छलफल भएको जनाइएको छ। सुशासन प्रवर्द्धन, प्रशासनिक सुधार तथा राज्य संयन्त्रलाई प्रभावकारी बनाउने विषयमा समितिले आगामी दिनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तस्बिरहरु:

फुटको सम्मुखमा कांग्रेस

काठमाडौं। गुट नै गुटको समिश्रणबाट बनेको नेपाली कांग्रेस आन्तरिक कलहका कारण फुटको सम्मुख पुगेको देखिन्छ।  कांग्रेस केन्द्रीय अनुशासन समितिले २ वैशाख २०८३ मा उपसभापति पदमा नरहेको दाबी गर्दै पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेपछि पार्टीभित्रको विवाद सतहमा आएको हो। 

समितिले स्पष्टीकरणसँगै कारबाहीको चेतावनी दिएपछि पार्टीभित्रको आन्तरिक मतभेद अझ स्पष्ट रूपमा देखिन थालेको हो। तर, पूर्णबहादुर खड्काले आफू अझै आधिकारिक उपसभापति रहेको दाबी गर्दै उक्त निर्णय अस्वीकार गरेका छन्। 

जेनजी आन्दोलनपछि भएको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति चयन भए पनि शेरबहादुर देउवा र शेखर कोइराला समूहले त्यसलाई अस्वीकार गरेपछि कांग्रेसभित्र नेतृत्व विवाद झन् चर्किएको  छ। यससँगै पार्टी तीन धारमा विभाजित भएको विश्लेषण गरिएको छ।

कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दामा सर्वोच्चमा बहस जारी छ ।  शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ जारी छ । अहिले विपक्षी तर्फका वकीलले बहस गरिरहेका छन् । उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल इजलास पुगेका छ्न् । अहिले टी ब्रेक भएको छ । टी ब्रेकपछि शर्मा र भुसालले बहस गर्ने छन् । साढे ३ सम्म विपक्षी वकीलको बहसपछि जवाफी बहस हुनेछ ।  

अहिलेसम्म विपक्षीतर्फबाट सेमन्त दाहाल, वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता सीताराम केसी र पूर्वन्यायाधिवक्ता दिनमणि पोखरेलले बहस गरेका छन् ।

बिहिबार रिट निवेदक र निर्वाचन आयोगको तर्फबाट सरकारी वकीलले बहस गरेका थिए । जवाफी बहसपछि सम्भवत: शुक्रबार नै आदेश आउने सम्भावना रहेको कानुन व्यवसायीले बताएका छन्।  

यसअघि सर्वोच्च अदालतले उक्त विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। २०८२ माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश नदिई निर्वाचन आयोगलगायत पक्षसँग लिखित जवाफ माग गरेको थियो। 

ऐतिहासिक लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको कांग्रेस अहिले आन्तरिक कलह, कमजोर प्रतिपक्ष भूमिका र निर्वाचनमा आएको पराजयका कारण संकटमा परेको छ। संगठनभित्रको असहमति र नेतृत्व विवादका कारण पार्टी दबाबमा परेको देखिन्छ।

पछिल्लो निर्वाचनमा कमजोर प्रदर्शन र नेताबीच बढ्दो असहमतिको असरले पार्टी गम्भीर संकटतर्फ धकेलिएको नेताहरूले बताएका छन्। नेताहरूका अनुसार पार्टीभित्रको आन्तरिक विवाद समाधान नभए संगठन थप कमजोर हुने र फुटको अवस्था समेत आउन सक्ने जोखिम रहेको छ।

यसैबीच,पूर्वसभापति देउवा, वर्तमान सभापति थापा र नेता कोइरालाले छुट्टै राजनीतिक रणनीति तथा सम्भावित नयाँ संरचना निर्माणका लागि आन्तरिक गृहकार्य थालेको आन्तरिक स्रोतको दाबी छ। यद्यपि, यसबारे पार्टीभित्र औपचारिक रूपमा कुनै निर्णय सार्वजनिक गरिएको छैन।

अन्ततः फुटको मुखमा पुगेको कांग्रेसको कमजोर अवस्थाले समग्र लोकतान्त्रिक प्रणालीमै असर पार्न सक्ने विश्लेषकहरूले बताएका छन्। विश्लेषकहरूका अनुसार पार्टीभित्रको अविश्वास, गुटबन्दी र नेतृत्वबीचको असहमति अन्त्य नभएसम्म एकता कायम रहन कठिन देखिन्छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा चयन(तस्बिरहरु)

काठमाडौं। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की डा. ओजस्वी शेरचन विजयी भएकी छन्। भएको निर्वाचनमा उनले बहुमत मत प्राप्त गर्दै सभापतिको जिम्मेवारी सम्हाल्ने भएकी हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका गुरु प्रसाद बराल भने अल्पमतमा परेका छन्। समितिको नेतृत्वका लागि भएको प्रतिस्पर्धामा शेरचनले स्पष्ट बहुमत ल्याउँदै विजय हासिल गरेकी हुन्।

नवनिर्वाचित सभापति शेरचनले समिति मार्फत शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रका नीतिगत सुधारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले सम्बन्धित क्षेत्रका समस्या समाधान र प्रभावकारी कार्यान्वयनमा जोड दिने बताइन्।

तस्बिरहरु: