`

बालेनलाई गुरुले भने-बालेन हिँडेको बाटो गलत छ, उनले गरिबलाई शत्रू ठाने (भिडियाे-अन्तर्वार्ता)

प्रधानमन्त्री बालेन्द्र शाह यतिबेला सर्वाधिक आलोचनाको केन्द्रमा छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको, जवाफदेही हुन नचाहेको आरोप लगाइरहेका छन्। संसद बैठकमा पटकपटक प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग उठिरहेको छ।

तर, २८ वैशाखमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि बीचमै संसदबाट बाहिरिएका प्रधानमन्त्री बालेन्द्र शाह त्यसयता संसदमा उपस्थित भएका छैनन् । आखिर किन प्रधानमन्त्री संसदमा आउन चाहँदैनन् ? बालेन नेतृत्वको सरकार सही दिशामा छ कि छैन? संवाद गरेका छौँ- एमालेका प्रतिनिधि सभा सदस्य गुरु बरालसँग ।

संसद कसरी चलिरहेको छ?

संसद सामान्य गतिमै चलिरहेको छ। संसदले स्थापित गरेका मूल्य, मान्यता र आदर्शलाई कायम राख्ने प्रयास हामी निरन्तर गरिरहेका छौँ। तर अहिलेको सत्ता पक्ष, विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी र उसका शीर्ष नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदीय अभ्यास सहज लागिरहेको देखिँदैन।

उहाँहरू यो प्रणालीमा अभ्यस्त नभएको पनि हुन सक्छ। अर्को कुरा, स्थापित संसदीय परम्परा र प्रक्रियाभन्दा फरक ढंगले अघि बढ्ने प्रवृत्ति देखिन्छ। कतै मनभित्र यो व्यवस्था नै उल्ट्याउने सोच त छैन भन्ने आशंका पनि पैदा हुन्छ। लोकतान्त्रिक पद्धति र प्रक्रियासँग उहाँका गतिविधिहरू मेल खाँदैनन्।

राजनीतिक परिवर्तनको नाममा ध्वंस मच्चाउने काम इतिहासमा कहिल्यै स्थायी समाधान बनेको छैन। सत्ता र जनताबीच द्वन्द्व हुन सक्छ, तर त्यसको सीमा हुन्छ। अहिले जुन शैलीमा स्थापित राजनीतिक शक्तिलाई विस्थापित गर्ने प्रयास भयो, त्यसको गम्भीर विश्लेषण हुन बाँकी छ।

प्रधानमन्त्रीले संसदप्रति उपेक्षा गरेकै हुन् त?

हामीले त्यसको स्पष्ट अनुभूति गरेका छौँ। उदाहरणका लागि, नेपाललाई अल्पविकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रक्रिया रोक्न सरकारले अन्तर्राष्ट्रिय निकायमा पत्राचार गरेको विषय संसदमा ल्याइएन। यस्तो गम्भीर विषय संसदलाई जानकारी नदिई किन गरियो?

त्यस्तै, सुकुम्बासी व्यवस्थापनको नाममा डोजर अभियान चलाइयो। संसद चलिरहेको अवस्थामा पनि सरकारले संसदलाई विश्वासमा लिएन। संसदमा छलफल गरेर निकास निकाल्न सकिन्थ्यो। तर सरकारले संसदलाई छल्यो।

अर्को, छोटो अवधिमै सरकारले पाँच खर्बभन्दा बढी ऋण लियो। त्यो ऋण किन लिइयो? कहाँ खर्च हुँदैछ? संसदमा जवाफ दिनुपर्थ्यो।

लिपुलेक, लिम्पियाधुरा र कालापानी हुँदै चीन-भारतले मानसरोवर मार्ग खोल्ने विषय राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय हो। यस्तो संवेदनशील मुद्दामा सबै दलबीच साझा धारणा बनाउनुपर्ने थियो। तर संसदलाई जानकारीसमेत गराइएन।

यसरी सरकार एकपछि अर्को कदम अटोक्रेटिक शैलीमा अघि बढिरहेको अनुभूति भइरहेको छ। यो लोकतन्त्रका लागि शुभ संकेत होइन।

प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही कसरी बनाउनुहुन्छ?

पहिलो कुरा, उहाँ आफैँले आफ्नो संवैधानिक जिम्मेवारी बुझ्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उहाँलाई सही बाटोमा डोर्याउनुपर्छ।

यदि त्यो भएन भने विपक्षी दलहरूबीच छलफल भइरहेको छ। संसदको नियमावली र संविधानले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी हुन बाध्य बनाएको छ। प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने स्पष्ट व्यवस्था छ। तर उहाँले त्यो पनि छल्नुभएको छ।

विधेयक प्रस्तुत भएपछि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने हो। तर उहाँ संसदमा आउनुभएको छैन।

हामी लोकतान्त्रिक प्रक्रियाबाटै उहाँलाई संसदमा आउन बाध्य बनाउँछौँ। संसद र सिंहदरबारबीच केही सय मिटर मात्रै दूरी छ। प्रधानमन्त्री सिंहदरबारमा बस्ने तर संसदमा नआउने स्थिति लोकतान्त्रिक अभ्यास होइन।

कतै प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित कार्यकारी शैलीमा अघि बढ्न खोज्नुभएको हो?

उहाँ र उहाँको पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालत गर्दै आएका छन्। त्यो उहाँहरूको राजनीतिक विचार हुन सक्छ। तर अहिलेको संविधानले जे व्यवस्था गरेको छ, त्यसैअनुसार चल्नुपर्छ। निजी चाहना अनुसार राज्य सञ्चालन गर्न पाइँदैन।

प्रधानमन्त्री प्रतिनिधिसभाप्रति जिम्मेवार हुनैपर्छ।

प्रधानमन्त्रीले ‘मलाई काम गर्न दिनुहोस्’ भन्नुभएको छ। संसदमा समय खर्च गर्नुको सट्टा काममै केन्द्रित हुन खोज्नुभएको होला नि?

काम गर्नुहोस्, हामी त्यसको विरोध गर्दैनौँ। जनतासँग गरेका वाचा पूरा गर्नुहोस्। तर संसदप्रति, संविधानप्रति र जनताप्रति जिम्मेवारीबाट अलग हुन पाइँदैन।

प्रधानमन्त्री केवल आफ्नो पार्टीको नेता होइन, देशको प्रधानमन्त्री हो। त्यसअनुसारको मर्यादा, डेकोरम र प्रस्तुति आवश्यक हुन्छ।

प्रतिपक्षले विरोधको विरोध मात्रै गरिरहेको आरोप छ नि?

हामी रचनात्मक प्रतिपक्षको भूमिकामा छौँ। संविधान र प्रक्रियाको सीमा नाघिएको ठाउँमा विरोध गर्नु हाम्रो कर्तव्य हो। राम्रो काममा समर्थन गर्छौँ। तर संवैधानिक प्रक्रिया मिचिएको ठाउँमा चुप लागेर बस्न सकिँदैन।

सुकुम्बासी बस्ती हटाउने सरकारको कदमलाई कसरी हेर्नुहुन्छ?

सुकुम्बासी समस्या समाधान गर्नुपर्छ। तर मानवीय ढंगले।

पहिला वास्तविक सुकुम्बासीको पहिचान गर्नुपर्थ्यो। दोस्रो, विकल्प तयार गर्नुपर्थ्यो। तेस्रो, उनीहरूलाई कहाँ राख्ने भन्ने स्पष्ट योजना हुनुपर्थ्यो।

तर सरकारले बल प्रयोग गरेर हटायो। अहिले होल्डिङ सेन्टरमा परिवार टुक्रिएका छन्। बच्चाको पढाइ, ज्येष्ठ नागरिक, सुत्केरीको अवस्था अत्यन्त कठिन छ।

संविधानले आवासको अधिकार सुनिश्चित गरेको छ। त्यसैले राज्य आफ्नो जिम्मेवारीबाट भाग्न सक्दैन।

तर, सुकुम्बासी समस्या वर्षौदेखि कांग्रेस, एमाले र नेकपाले समाधान गर्न सकेनन् नि?

हामी जिम्मेवारीबाट भाग्दैनौँ। विगतमा कमजोरी भएका छन्। तर एमाले सरकारले ७० हजार सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको इतिहास पनि छ।

माओवादी युद्ध, भूकम्प, बेरोजगारी, कृषि संकटका कारण गाउँबाट शहरतिर बसाइँसराइ बढ्यो। यो जटिल सामाजिक समस्या हो।

तर समाधान सम्भव छ। राजनीतिक नारा मात्रै होइन, व्यवहारिक योजना आवश्यक छ।

बालेन सरकारको दुई महिने कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ?

अहिले अन्तिम मूल्यांकन गर्ने बेला भएको छैन। तर बिहानीले दिउँसोको संकेत गर्छ भनेझैँ, सरकार सन्देहको घेरामा छ।

१०० दिनपछि थप स्पष्ट मूल्यांकन गर्न सकिन्छ।

सरकारले ल्याएको अध्यादेश र संवैधानिक परिषद् सम्बन्धी संशोधनप्रति किन आपत्ति?

अध्यादेश तत्काल आवश्यक अवस्थामा ल्याउने व्यवस्था हो। तर संशोधनको ठूलो पुलिन्दा बोकेर अध्यादेश ल्याउने शैली स्वस्थ लोकतान्त्रिक अभ्यास होइन।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा संविधानको मर्ममाथि प्रहार गर्ने संकेत देखिन्छ।

रवि लामिछानेमाथिका मुद्दा फिर्ता लिने प्रक्रियालाई कसरी हेर्नुहुन्छ?

हामी शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गर्छौँ। अदालत स्वतन्त्र हुनुपर्छ।

तर प्रधानन्यायाधीश नियुक्ति र त्यसलगत्तै मुद्दा फिर्तासम्बन्धी प्रक्रियाले सन्देह पैदा गरेको छ। अदालतभित्र नै यसबारे गम्भीर बहस भइरहेको छ।

यदि सम्पत्ति शुद्धीकरणजस्ता मुद्दा कमजोर बनाइयो भने नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा जाने जोखिम बढ्न सक्छ। त्यसले बैंकिङ, रेमिट्यान्स, लगानी र अर्थतन्त्रमा गम्भीर असर पार्छ।

बालेन सरकारको पहिलो बजेट कस्तो आउला?

नीति तथा कार्यक्रममा नयाँ शब्द धेरै छन्, तर ठोस नवीनता कम देखिन्छ।

गरिबी, बेरोजगारी, कृषि व्यवसायीकरण, सिंचाइ, उद्यमशीलता, उत्पादन वृद्धि- यी क्षेत्रमा स्पष्ट कार्ययोजना चाहिन्छ।

सरकार मध्यम वर्ग विस्तारको कुरा गरिरहेको छ। तर हाम्रो दृष्टिकोणमा प्राथमिकता श्रमजीवी, किसान, मजदुर र आधारभूत वर्गको उत्थान हुनुपर्छ।

हामी समाजवादी आर्थिक दृष्टिकोणमा विश्वास गर्छौँ। अहिलेको सरकार उदारवादी-पुँजीवादी बाटोमा अघि बढिरहेको देखिन्छ।

अन्त्यमा, एमाले अहिले कमजोर र रक्षात्मक अवस्थामा पुगेको हो?

हामी थला परेका छैनौँ। कमजोरी भएका छन्, स्वीकार्छौँ।

हामीले सडक र सरकार दुवैतर्फ समानान्तर रूपमा काम गर्नुपर्ने थियो। पछिल्लो समय सडक कमजोर भयो। त्यसबाट शिक्षा लिएका छौँ।

नेतृत्वदेखि कार्यकर्तासम्म सबैले आत्मसमीक्षा गर्नुपर्छ। अध्यक्ष केपी शर्मा ओली सहित सबै नेताहरूले आफ्ना कमजोरी सच्याउनुपर्छ।

एमालेलाई फेरि जनताको भरोसाको शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यमा हामी लागेका छौँ।

नेकपासँग एकता सम्भव छ?

पहिला उनीहरूले आफ्नो वैचारिक आधार स्पष्ट गर्नुपर्छ। मार्गदर्शक सिद्धान्त के हो? राजनीतिक कार्यदिशा के हो? त्यो स्पष्ट हुनुपर्छ।

त्यसपछि मात्रै सहकार्य वा एकताबारे छलफल सम्भव हुन्छ।

दक्षिण एसियाबाट कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएको चर्चा छ नि?

जबसम्म वर्गीय विभाजन रहन्छ, कम्युनिस्ट आन्दोलन रहिरहन्छ।

कम्युनिस्ट आन्दोलनलाई सुधार, पुनर्गठन र जनतासँगको सम्बन्ध मजबुत बनाउँदै अघि बढाउनुपर्छ। किसान, मजदुर, दलित, पिछडिएका समुदाय, मध्यम वर्ग र देशभक्त शक्तिलाई साथमा लिएर मात्रै आन्दोलन बलियो बन्छ।

देशको संविधान, राष्ट्रियता र स्वाधीनताको रक्षा गर्दै समाजवादी आन्दोलनलाई पुनः सशक्त बनाउनु आजको आवश्यकता हो।

संसद् चल्दै गर्दा रवि लामिछाने किन गए अदालत ?

काठमाडौं । संसद् चल्दै गर्दा रास्वपा सभापति रवि लामिछाने अदालत पुगेका छन् । उनी काठमाडौं जिल्ला अदालतमा तारेख बुझ्न पुगेका हुन् ।

त्यहाँ उनीविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित मुद्दा छ । सहकारी ठगीको अर्को मुद्दा पनि छ । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको अर्बौँ रुपैयाँ रविसहित जीबी राईलगायतले ठगी गरेको भनिएको छ ।

लामिछानेले आफूले ठगी नगरेको जिकिर गर्दै आएका छन् । यद्यपि, उनले आफूले सहकारीबाट पैसा नल्याएको, जीबी राईले कहाँदेखि ल्याएको भन्ने आफूलाई थाहा नभएको बताउने गरेका छन् ।

लामिछानेविरुद्धको मुद्दामा थुनछेक हुँदा अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछानेविरुद्ध अहिले रुपन्देहीह र पर्सा अदालतमा अझै पनि सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगी मुद्दा छन् ।

कास्की अदालतले भने हालै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिएको छ ।

यसलाई लिएर विपक्षी दलहरुले कतै न्यायलय रास्वपा सभापति रवि लामिछानेप्रति नरम बनेको त होइन ? प्रश्न उठ्न थालेको छ ।

तीन दिन गणतन्त्र दिवस मनाउने कोशी प्रदेशको तयारी

मोरङ ।  कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाइने भएको छ। प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रमसहित दिवस मनाउने निर्णय गरेको हो।

निर्णयअनुसार जेठ १४ गते प्रदेशका मन्त्रालयमा सचिवको नेतृत्वमा, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा तथा अन्य कार्यालयमा कार्यालय प्रमुखको नेतृत्वमा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। सोही दिन साँझ दीप प्रज्वलन पनि गरिनेछ।

जेठ १५ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रभातफेरि निकालिनेछ भने मूल समारोह समितिको आयोजनामा हुने मुख्य कार्यक्रममा मुख्यमन्त्री कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसैदिन साँझ दीपावली गर्ने तयारी गरिएको छ।

जेठ १६ गते प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिनेछ। सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रममा आश्रितलाई फलफूल वितरण गर्ने कार्यक्रम पनि तय गरिएको छ। त्यस दिन साँझ पुनः दीप प्रज्वलन गरिनेछ।

समारोह समितिले जेठ १५ गते विभिन्न जातजातिको पहिचान झल्कने झाँकीसहित सहभागिताका लागि सबैलाई आग्रह गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको नेतृत्वमा ११ सदस्यीय समितिले सम्पूर्ण कार्यक्रम समन्वय गर्नेछ।

जलवायु परिवर्तनले जोखिममा हिमाली क्षेत्र : राष्ट्रपति

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित ‘Everest Summitters Breakfast with President of Nepal’ कार्यक्रममा विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीहरूको सम्मान गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्। उनले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभई राष्ट्रिय गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गरे।

उनका अनुसार यी सम्पदाको संरक्षण, प्रवर्द्धन र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्रमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुगेको छ। तर पछिल्ला वर्षहरूमा विश्वव्यापी तापक्रम वृद्धि, जलवायु परिवर्तनका असर तथा पर्वतारोहण क्षेत्रमा फोहोर व्यवस्थापन जस्ता चुनौतीहरू बढ्दै गएको उनले बताए।

राष्ट्रपति पौडेलले यी समस्या समाधान गर्दै सगरमाथा क्षेत्रको पर्यावरण र जैविक विविधता संरक्षण गर्नुपर्नेमा जोड दिए। साथै, पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।

उनले आरोहीहरूको अनुभव र ज्ञानले सगरमाथा तथा हिमाली क्षेत्रको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै यस प्रकारका सम्मेलनले विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उल्लेख गरे।

गाडी दुर्घटनामा सात जना घाइते

जाजरकोट । जाजरकोटमा हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। छेडागाड नगरपालिका–१३ कार्कीगाउँदेखि नेपालगन्जतर्फ जाँदै गरेको लु.प्र.०१००१ ख.०१९७ नम्बरको फोर्स गाडी बुधबार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका–८, चौखेढुङ्गा क्षेत्रमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधिरकुमार खड्काका अनुसार बिहान करिब ८ बजे दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी जगतीपुरबाट टोली घटनास्थल पुगेको थियो। घाइतेहरूलाई तत्काल एम्बुलेन्समार्फत जिल्ला अस्पताल जाजरकोट पुर्‍याई उपचार भइरहेको छ। अस्पतालका अनुसार सबै घाइतेको अवस्था खतरामुक्त रहेको छ।

गाडीमा चालकसहित ८ जना सवार थिए। चालक २६ वर्षीय खिमराज केसी भने सकुशल रहेका छन् भने अन्य सात जना घाइते भएका छन्। घाइतेहरूमा भेरी नगरपालिका–७ की २७ वर्षीया भावना विक, २६ वर्षीय आशिष विक, २८ वर्षीया तिर्सना विक र २५ वर्षीया लिला विक रहेका छन्।

त्यस्तै भेरी–९ का २२ वर्षीय कमल परियार, २६ वर्षीय कमलराज घर्ती र भेरी–१० का २७ वर्षीय तुल्सा मल्ल शाही पनि घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तारेख बुझ्न जिल्ला अदालत काठमाडौंमा रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा तारेख बुझ्न पुगेका छन्।

अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार लामिछानेले बुधबार स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी विचाराधीन मुद्दामा तारेख बुझेका हुन्। उक्त मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

यसअघि स्वर्णलक्ष्मी सहकारी प्रकरणमा उनी ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। सो मुद्दा सहकारी बचत अपचलनसँग सम्बन्धित भएकाले कानुनी प्रक्रिया अदालतमा अघि बढिरहेको छ।

तारेख बुझिसकेपछि उनको अर्को तारेख असार ११ गतेका लागि तोकिएको अदालतले जनाएको छ। अदालतमा नियमित उपस्थित भई कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले लामिछाने बुधबार अदालत पुगेका हुन्।

मानव अधिकार आयोगद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री बालेन नगएपछि…

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगको स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सहभागी नभएपछि कार्यक्रमको प्रमुख अतिथि परिवर्तन गरिएको छ।

बुधबार आयोगले आयोजना गरेको २६औँ स्थापना दिवस कार्यक्रममा प्रधानमन्त्री बालेन शाहले उपस्थित हुन अस्वीकार गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्याललाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको हो।

आयोग स्रोतका अनुसार, प्रधानमन्त्रीलाई निमन्त्रणा दिन पुगेको टोलीलाई उनले आफू उपस्थित हुन नसक्ने जानकारी दिँदै कानुनमन्त्री सोविता गौतमलाई कार्यक्रममा सहभागी गराउन सुझाव दिएका थिए।

स्रोतका अनुसार प्रधानमन्त्रीले आयोगको कार्यक्रममा आफू आउन असमर्थ रहेको जनाउँदै कानुनमन्त्रीलाई प्रतिनिधित्व गराउन आग्रह गरेका थिए।

त्यसपछि आयोगले परम्परागत अभ्यासअनुसार प्रधानमन्त्रीको सट्टा सभामुखलाई प्रमुख अतिथि बनाएको बताइएको छ। विगतका वर्षहरूमा आयोगको स्थापना दिवसमा प्रधानमन्त्री स्वयं सहभागी भई सम्बोधन गर्ने प्रचलन रहँदै आएको थियो।

सभामुख अर्यालले कार्यक्रममा प्रारम्भिक सम्बोधन गरेका थिए। तर संसद्को कार्यव्यस्ततालाई कारण देखाउँदै उनी पनि केही समयमै कार्यक्रमबाट बाहिरिएका थिए।

कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगका सिफारिसहरूको कार्यान्वयन अवस्था कमजोर रहेको भन्दै गम्भीर असन्तुष्टि जनाए। उनका अनुसार आयोगले गरेका सिफारिसमध्ये हालसम्म केवल १३.२९ प्रतिशत मात्र कार्यान्वयन भएका छन्।

उनले भने, ‘आगामी दिनमा सरकारले यसतर्फ सकारात्मक कदम चालेमा मात्रै कानुनी शासनको प्रत्याभूति र मानव अधिकार संस्कृतिको विकास सम्भव हुनेछ।’

अध्यक्ष मगरले द्वन्द्वकालीन घटनासम्बन्धी उजुरीहरूको छिटो समाधानका लागि प्रक्रिया तीव्र बनाउन पनि सरकारलाई आग्रह गरे।

बढ्दो जलवायु परिवर्तनलाई ध्यानमा राखौँ : अर्याल

काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले जलवायु परिवर्तनका जोखिमपूर्ण संकेतहरू स्पष्ट रूपमा देखिन थालेको भन्दै त्यसको समयमै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका लागि स्थानीय तहदेखि समुदायसम्म सामूहिक सहभागितामा आधारित विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन्।

सांसद अर्यालले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि जलवायु परिवर्तनको उच्च जोखिममा परेको बताइन्। उनले मौसम चक्रमा आएको असन्तुलन, वर्षाको ढाँचा परिवर्तन, गर्मीका दिन झन् ताता हुँदै जानु तथा हिउँदका रात अत्यधिक चिसिँदै जानु जलवायु संकटका संकेत भएको उल्लेख गरिन्।

उनले पछिल्ला वर्षहरूमा मेलम्ची, मनाङ मुस्ताङ र लाङटाङको केरुङ क्षेत्रमा देखिएका अप्रत्याशित बाढी पहिरो तथा थामे गाउँमा हिउँताल फुटेर भएको विनाशलाई जलवायु परिवर्तनको गम्भीर असरका रूपमा व्याख्या गरिन्।

अर्यालले समयमै प्रभावकारी कदम नचालिए भविष्यमा धेरै नागरिक बसाइँ सर्न बाध्य हुने अध्ययनहरूले देखाएको बताइन्। साथै, उनले जलवायु संकट समाधानका लागि सबै राजनीतिक दल र सरोकारवालाको सहभागितामा साझा संयन्त्र गठन गर्न सरकारसँग आग्रह गरिन्।

 

खरेलको माग : महालक्ष्मीमा खाद्यान्न र खानेपानी आपूर्ति बढाऊँ(भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले महालक्ष्मी नगरपालिकामा खाद्यान्न र खानेपानीको अभाव रहेको भन्दै सरकारले आपूर्ति बढाउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै सांसद खरेलले महालक्ष्मी नगरपालिकाको विकासमा सरकारले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले चालु आर्थिक वर्षदेखि नै खाद्यान्न तथा खानेपानीको आपूर्ति वृद्धि गर्न सरकारसँग आग्रह गरे।

त्यसैगरी, उनले ललितपुरको लकुरी भञ्ज्याङ क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न गुरुयोजना बनाएर काम अघि बढाउनुपर्ने धारणा राखे। साथै, ललितपुरको भाषा, कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए।

इजरायली आक्रमणमा ३१ लेबनानीको मृत्यु

काठमाडौं‌ ।इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहूले हिजबुल्लाहविरुद्धको सैन्य कारबाही अझ तीव्र बनाउने चेतावनी दिएपछि लेबनानमा भीषण हवाई आक्रमण भएको छ। लेबनानको दक्षिणी र पूर्वी क्षेत्रमा गरिएको पछिल्लो आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको जनाइएको छ। मृतकमध्ये केही बालबालिका पनि रहेका छन्।

इजरायली सेनाले अप्रिलमा युद्धविराम सुरु भएयताकै सबैभन्दा ठूलो बमबारी गरिएको दाबी गरेको छ। सेनाका अनुसार एकै रातमा हिजबुल्लाहका १०० भन्दा बढी ठेगाना तथा लडाकुहरूलाई निशाना बनाइएको थियो। मंगलबार बसेको सुरक्षा बैठकमा प्रधानमन्त्री नेतान्याहुले लेबनानमा इजरायलको सुरक्षा पहुँच र सैन्य उपस्थिति अझ मजबुत बनाइने बताएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि हिजबुल्लाहको प्रभाव क्षेत्र मानिने बेरुतका दक्षिणी उपनगरहरूमा त्रास फैलिएको छ। हजारौँ स्थानीयवासी सुरक्षित स्थानतर्फ जान सहर छोडिरहेका छन्।

यसैबीच, लेबनानको मशघरा गाउँमा भएको आक्रमणमा थुप्रै घर ध्वस्त भएका छन्। भग्नावशेषबाट ११ जनाको शव निकालिएको छ भने ७ वर्षीय एक बालकलाई जीवितै उद्धार गरिएको बताइएको छ। उक्त घटनामा बालकका बुबा र दुई दिदीबहिनीको मृत्यु भएको छ।

दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्। इजरायली सेनाले लेबनानी नागरिकलाई केही नयाँ क्षेत्र खाली गर्न निर्देशन दिएको छ भने हिजबुल्लाहले इजरायली सेनाका तीन सैन्य चौकी र ब्यारेकमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।

गत मार्च २ देखि जारी द्वन्द्वमा हिजबुल्लाहको आक्रमणबाट हालसम्म २३ इजरायली सैनिक र एक ठेकेदारको मृत्यु भएको छ। यता, इजरायली आक्रमणका कारण लेबनानमा कम्तीमा ३ हजार १ सय ८५ जनाले ज्यान गुमाइसकेका छन्।

‘मुख भात खानका लागि मात्रै हो र ? बोल्नु पनि पर्छ’

काठमाडौं। संसद् बैठक बहिष्कार गरेर बाहिरिएपछि सांसद हर्क साम्पाङले प्रधानमन्त्री उपस्थित नभएसम्म आफूले बैठक निरन्तर बहिष्कार गर्ने बताएका छन्।

संसद् भवन बाहिर पत्रकारसँग कुरा गर्दै साम्पाङले संसद् नियमावलीको नियम १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीसँग केही प्रश्न राख्न खोजेको भए पनि प्रधानमन्त्री बैठकमा उपस्थित नभएको गुनासो गरे।

उनले आजको बैठकमा सभामुखसँग प्रधानमन्त्रीलाई बैठकमा बोलाउन वा आफूलाई सदनबाट बाहिर निकाल्न आग्रह गरेको बताए। तर सभामुखबाट त्यसबारे कुनै स्पष्ट निर्णय नआएको भन्दै असन्तुष्टि व्यक्त गरे।

साम्पाङले भने, ‘सभामुखले रुलिङ पनि गर्नुहुन्न, निस्केर जा भन्नुहुन्छ कि भनेको त्यो पनि भन्नुहुन्न । म आफैँ निस्किएँ ।’

प्रधानमन्त्रीको अनुपस्थितिप्रति आक्रोश व्यक्त गर्दै उनले प्रधानमन्त्रीले संसद्मा आएर जनताका प्रश्नको जवाफ दिनुपर्ने बताए।

उनले भने, ‘प्रधानमन्त्री आएर बोल्नुस् त भनेको हो । यो मुख भात खानका लागि मात्रै हो र ? बोल्नु पनि पर्छ । यति क्षमता योग्यता हुनुपर्छ क्या प्रधानमन्त्री बन्नका लागि ।’

साम्पाङले संसद् जनताको आवाज उठाउने थलो भएकाले प्रधानमन्त्रीले नियमित रूपमा उपस्थित भएर सांसदका प्रश्नको सामना गर्नुपर्ने धारणा पनि राखे।

संसद भवन फिल्म हलजस्तै भयो : ऐन महर

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले सिंहदरबारस्थित नयाँ संसद भवनको संरचना र व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद भवनलाई गरिमामय बनाउनुपर्नेमा फिल्म हलजस्तो बनाइएको भन्दै ध्यानाकर्षण गराएका हुन्।

सरकारले नयाँ संसद भवनबाट नयाँ बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको उल्लेख गर्दै महरले भवन निर्माणमा ठूलो लगानी र मेहनत भएको बताए। उनले यस्तो महत्वपूर्ण संरचनाको दीर्घकालीन र व्यवस्थित प्रयोग हुनुपर्नेमा जोड दिए।

‘सभामुखबाट निरीक्षण हुँदा पनि विभिन्न कमजोरी औंल्याइएको थियो,’ महरले भने, ‘तर अहिले प्रतिनिधिसभा बैठक कक्ष फिल्म हलजस्तो देखिएको छ। कुर्सीहरू पनि सभाहलभन्दा फिल्म हलमा राखिने शैलीका छन् भने टेबलहरू कक्षाकोठाका जस्ता छन्।’

उनले प्रतिनिधिसभाको गरिमा र मर्यादा झल्किने गरी संसद भवनको व्यवस्थापन र संरचना सुधार गर्न आग्रह गरेका छन्।

घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो।

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार भने यही सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ५५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

यता, सुनको मूल्य घटे पनि चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँले बढेर ५ हजार ८० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३५५ रुपैयाँ कायम गरिएको छ।

टस जितेर चीनविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं ।  एसियाली खेलकुदअन्तर्गत बुधबार नेपाली महिला क्रिकेट टोलीले चीनसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा जारी प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा टस जितेर चीनविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

क्वालालम्पुरमा भइरहेको खेलमा नेपाली टोलीको कप्तानी इन्दु बर्माले गरिरहेकी छन्। नेपालले यसअघि चीनविरुद्ध खेलेका दुवै महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेको इतिहास छ। सन् २०१९ को फेब्रुअरीपछि नेपाल र चीन पहिलो पटक आमनेसामने हुन लागेका हुन्।

मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन चीनले इन्डोनेसियालाई ७ विकेटले पराजित गरेको थियो। इन्डोनेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रन बनाएको थियो। उक्त लक्ष्य चीनले १९.५ ओभरमा पूरा गरेको थियो। पहिलो खेलमा जित निकालेको चीन उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ।

नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन्। नेपालले आफ्नो दोस्रो खेल बिहीबार इन्डोनेसियासँग खेल्ने तालिका रहेको छ।

इजरायलले माग्यो २३०० नेपाली कामदार [सूचनासहित]

काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिने इजरायलले नेपाली कामदारका लागि नयाँ माग खुलाएको छ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा कार्य गर्न वैदेशिक रोजगार विभागले कुल २३०० जनाका लागि दरखास्त आह्वान गरेको हो।

विभागले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार कुल कोटामध्ये ६० प्रतिशत अर्थात् १३८० महिला र ४० प्रतिशत अर्थात् ९२० पुरुष कामदार छनोट गरिनेछ। छनोट भएका कामदारले इजरायलका विभिन्न समूहगत आवास तथा व्यक्तिगत अपार्टमेन्टमा रहेका वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूको स्याहार-सुसारमा सहयोग गर्नुपर्नेछ।

विभागले उम्मेदवारका लागि निश्चित योग्यता र मापदण्डसमेत तोकेको छ। आवेदन दिन इच्छुक व्यक्तिको उमेर कम्तीमा २५ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै, शारीरिक योग्यताअन्तर्गत न्यूनतम १.५ मिटर उचाइ र कम्तीमा ४५ किलोग्राम तौल हुनुपर्ने उल्लेख गरिएको छ।

शैक्षिक योग्यताका हकमा कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्नेछ। यदि सो योग्यता नभएमा १०+२ वा सो सरह उत्तीर्ण गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट ‘केयर गिभिङ’ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्ने विभागले जनाएको छ।

यसका अतिरिक्त, उम्मेदवार यसअघि इजरायल गएर काम नगरेको हुनुपर्ने तथा उनका नजिकका परिवारका सदस्य हाल इजरायलमा बसोबास वा रोजगारीमा संलग्न नरहेको हुनुपर्ने सर्त पनि राखिएको छ।

सूचनाअनुसार इजरायल जाने नेपाली कामदारले मासिक न्यूनतम ५ हजार ८ सय ८१ दशमलव ५० इजरायली मुद्रा तलब पाउनेछन्। यसबाहेक ओभरटाइम सुविधा, वार्षिक बिदा तथा खानाको सुविधा पनि उपलब्ध गराइने उल्लेख छ। इजरायली कानुनअनुसार आवासको व्यवस्था रोजगारदाताले मिलाउने भए पनि त्यसको निर्धारित खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ।

सुरुआती करार अवधि एक वर्षको हुने र आवश्यकताअनुसार अधिकतम पाँच वर्षसम्म थप गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ।

इच्छुक उम्मेदवारले वैदेशिक रोजगार विभागको अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याद आजदेखि २१ दिन अर्थात् २०८३ असार ७ गते दिउँसो १२ बजेसम्म तोकिएको छ।

आवेदनका लागि राहदानी, हालसालै खिचिएको फोटो, शैक्षिक प्रमाणपत्र, तालिमसम्बन्धी प्रमाणपत्र तथा नेपाल प्रहरीले जारी गरेको चारित्रिक प्रमाणपत्र अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।

विभागका अनुसार प्राप्त आवेदनमध्ये न्यूनतम मापदण्ड पूरा गरेका उम्मेदवारहरूको विवरण ‘नेमचेक’ प्रक्रियाका लागि इजरायल पठाइनेछ। त्यसपछि इजरायलबाट स्वीकृत भएर आएका उम्मेदवारमध्ये गोलाप्रथामार्फत अन्तिम छनोट गरिने जनाइएको छ। विभागले सम्पूर्ण प्रक्रिया पारदर्शी र निष्पक्ष हुने दाबी गरेको छ।

यस रोजगारीका लागि लाग्ने हवाई भाडा, स्वास्थ्य परीक्षण, बिमा, कल्याणकारी कोष तथा अभिमुखीकरण तालिमको खर्च भने कामदार आफैँले व्यहोर्नुपर्नेछ। विभागले हवाई भाडा प्रचलित बजार मूल्यअनुसार हुने जनाएको छ।

साथै, विभागले कुनै पनि बिचौलिया वा प्रलोभनमा नपर्न र आधिकारिक सूचनाका आधारमा मात्र प्रक्रिया अघि बढाउन सबैलाई आग्रह गरेको छ।

आवेदन आह्वान गरिएको सूचना

अनौठो अवतारमा नीता

काठमाडौं। अभिनेत्री नीता ढुंगानाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘पार्वती’को फस्ट लुक सार्वजनिक गरिएको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको दुई पोस्टरले फिल्म भावनात्मक, संवेदनशील तथा फरक शैलीको कथावस्तुमा आधारित रहेको संकेत गरेका छन्।

सार्वजनिक पोस्टरमा नीता ढुंगाना नेपाली फिल्ममा कमै देखिने डी-ग्लाम अवतारमा प्रस्तुत भएकी छन्। एक पोस्टरमा उनी स्कुले छात्राको पोसाक, छोटो कपाल र घाँटीमा कालो धागो लगाएको अवस्थामा देखिन्छिन्। नीलो पिनाफोरमा प्रस्तुत उनको हेराइ र मुस्कानले पात्र ‘पार्वती’ सामान्य जीवनभन्दा फरक मानसिक वा सामाजिक अवस्थाबाट गुज्रिरहेको आभास गराउँछ।

अर्को पोस्टरमा बालगायक तथा कलाकार अशोक दर्जीले नीतालाई पिठ्युँमा बोकेको दृश्य समावेश गरिएको छ। उमेरले सानो पात्रले पार्वतीलाई बोकेको दृश्यले फिल्ममा उसको भूमिका भावनात्मक सहारा र संरक्षकका रूपमा रहने अनुमान गरिएको छ। पोस्टरमा दुवै पात्रको अनुहारमा देखिएको निष्कपट मुस्कानले उनीहरूबीचको सम्बन्ध स्वार्थरहित र आत्मीय हुने संकेत गरेको छ।

त्यस्तै, नीताले आकाशतर्फ औंला देखाएको दृश्यले पात्रको सपना, कल्पनाशीलता वा स्वतन्त्र संसारप्रतिको चाहनालाई प्रतिनिधित्व गरेको बुझ्न सकिन्छ। पोस्टरमा ‘पार्वती’ शीर्षक प्रस्तुत गरिएको शैलीले पात्रले समाजबाट भोग्नुपरेका अवरोध, संघर्ष वा उसमाथि लगाइएका सामाजिक ट्यागहरूविरुद्धको प्रतिरोधलाई प्रतीकात्मक रूपमा देखाएको अनुमान गरिएको छ।

आगामी भदौ १२ गते रक्षाबन्धनको अवसर पारेर प्रदर्शनमा आउने फिल्मको पोस्टरमा दिदी-भाइको सम्बन्ध झल्किने दृश्य प्रस्तुत गरिनु र सोही मिति रोजिनुले कथावस्तु पनि दिदी–भाइबीचको भावनात्मक सम्बन्ध तथा सामाजिक जिम्मेवारी वरिपरि केन्द्रित हुन सक्ने अनुमान गरिएको छ।

फिल्म ‘पार्वती’ नीताका लागि करियरको महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ। कथा, पटकथा, निर्देशन तथा मुख्य भूमिका स्वयं नीताले सम्हालेकाले उनले यो फिल्मलाई विशेष प्राथमिकताका साथ अघि बढाएको स्पष्ट देखिन्छ। पोस्टरमार्फत प्रस्तुत भावनात्मक गहिराइलाई फिल्मले पर्दामा प्रभावकारी रूपमा उतार्न सके यसले नीताको करियरमा नयाँ मोड ल्याउन सक्ने चर्चा सुरु भएको छ।

फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ। ‘नीता ढुंगाना फिल्म्स’को ब्यानरमा हरिहर अधिकारीले निर्माण गरेको फिल्ममा संवाद शिवम् अधिकारीको, क्रियटिभ निर्देशन सरोज अधिकारीको रहेको छ।

त्यस्तै, फिल्ममा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, एलिस कार्कीको पाश्र्व संगीत, सुदीप बरालको छायांकन तथा साहिल खानको सम्पादन रहेको छ।

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको भन्दै पत्रकार महासंघ आन्दोलनमा

काठमाडौं। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले गएको दुई महिनादेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रमा सरकारले अंकुश लगाउने प्रयास गरेकाे बताएकी छन् ।

सरकारी विज्ञापनमा पनि सरकार नियन्त्रित सञ्चारमाध्यमहरूकाे एकाधिकार स्थापित गर्न खाेजिएका भन्दै उनले गम्भीर आपत्ति जनाइन्।

नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवसकाे अवसरमा बुधबार काठमाडौंमा आयाेजित कार्यक्रममा उनले सरकारकाे यस्ताे रवैयाविरूद्ध नेपाल पत्रकार महासंघ आन्दोलनमा रहेकाे बताइन् । बालेन सरकारलाई ‘नबाेल्ने सरकार’काे संज्ञा दिँदै उनले लाेकतन्त्र पनि सङ्कटमा पर्ने जाेखिम बढेकाेले राजनीतिक दल र पत्रकार महासंघबीच सहकार्य हुनुपर्ने उल्लेख गरिन् ।

‘हामी एकजुट हुनुपर्ने बेला आएको छ । २०६२/०६३ सालमा राजाकाे ‘कू’विरूद्ध दल र पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लाेकतन्त्र स्थापनाका लागि लडेका थियाैं । अहिले पनि महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रका लागि संगठित र असंगठित शक्तिसँग लडिरहेका छाैं,’ उनले भनिन्, ‘यतिबेला दुई महिनादेखि झनै सङ्कटमा परेकाे छ । अहिले त नबाेल्ने सरकार छ । तर, नबाेली भएको छैन । सरकारी विज्ञापनमा एकाधिकार लगाएकाे छ, संविधानले दिएकाे अधिकारमा अंकुश लगाएकाे छ । संविधानले दिएकाे नागरिक अधिकार कटाैटी गर्न खाेजिँदैछ ।’

उनले पत्रकार महासंघले तेस्रो चरणकाे आन्दोलन हस्ताक्षर थालेर सुरू गरेकाे बताइन् ।

बैठक बहिष्कार गरेर बाहिरिए साम्पाङ[भिडियो]

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बुधबार बसेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। बैठक सुरु हुनेबित्तिकै उनले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको उपस्थितिबारे प्रश्न उठाउँदै सभामुखसँग रुलिङको माग गरेका थिए। साम्पाङले प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदहरूले उठाएका विषयमा जवाफ दिनुपर्ने धारणा राखेका थिए।

तर, सभामुखले उनको मागमाथि तत्काल कुनै प्रतिक्रिया नजनाएपछि साम्पाङ असन्तुष्ट बने। त्यसपछि उनले संसद् बैठकप्रति असहमति जनाउँदै बैठक बहिष्कार गरेर बाहिरिएका हुन्।

साम्पाङले संसदमा सरकार प्रमुखको अनुपस्थितिलाई गैरजिम्मेवार व्यवहारको संज्ञा दिएका छन्। उनले जनताका सवालमा प्रधानमन्त्री उत्तरदायी हुनुपर्ने र संसदप्रति सम्मान देखाउनुपर्ने बताउँदै आएका थिए । 

एआई-निर्देशित मिसाइल परीक्षण गरेर ‘दक्षिण’ तर्साउँदै ‘उत्तर-कोरिया’

काठमाडौं। उत्तर कोरियाले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिमा आधारित मिसाइल तथा आर्टिलरी रकेट परीक्षण गरेको दाबी गरेको छ।

उत्तर कोरियाली नेता किम जोङ उनकै निरीक्षणमा ट्याक्टिकल ब्यालिस्टिक मिसाइल, लामो दूरीका बहु-प्रक्षेपण आर्टिलरी रकेट तथा एआई-निर्देशित सटिक क्रुज मिसाइलहरूको परीक्षण गरिएको त्यहाँको सरकारी समाचार संस्था ‘कोरियन सेन्ट्रल न्युज एजेन्सी’ (केसीएनए) ले जनाएको हो।

केसीएनएका अनुसार यी परीक्षण आधुनिक युद्धको आवश्यकता अनुसार हतियार प्रणालीलाई थप उन्नत बनाउन गरिएको हो। परीक्षणका क्रममा विशेष मिसन वारहेडयुक्त ट्याक्टिकल ब्यालिस्टिक मिसाइलको क्षमता, लामो दूरीका आर्टिलरी रकेटहरूको विश्वसनीयता तथा एआई-आधारित क्रुज मिसाइलहरूको सटिकता मूल्याङ्कन गरिएको बताइएको छ।

उत्तर कोरियाली नेता किम जोङ उनले परीक्षणपछि हतियार प्रणाली र स्वचालित प्रक्षेपण प्रविधिलाई आधुनिक युद्धअनुसार सफलतापूर्वक स्तरोन्नति गरिएको दाबी गरेका छन्।

उनका अनुसार दक्षिण कोरियासँगको सीमावर्ती क्षेत्रमा तैनाथ गरिने क्रुज मिसाइलहरूमा सटीक नेभिगेशन प्रणाली र एआई-आधारित नियन्त्रण प्रविधि जडान गरिएको छ। ती मिसाइलहरू १०० किलोमिटरसम्मको दूरीमा रहेका लक्ष्यमा प्रहार गर्न सक्षम रहेको दाबी पनि गरिएको छ।

दक्षिण कोरियाको राजधानी सोल उत्तर र दक्षिण कोरियाबीचको असैनिक क्षेत्रबाट १०० किलोमिटरभन्दा कम दूरीमा पर्छ। उत्तर कोरियाले लामो समयदेखि दक्षिण कोरियालाई आफ्नो प्रमुख शत्रुका रूपमा चित्रण गर्दै आएको छ।

विश्लेषकहरूका अनुसार उत्तर कोरियाले मिसाइलको अन्तिम चरणको मार्ग निर्देशनमा एआई प्रयोग गरिएको कुरा पहिलोपटक सार्वजनिक रूपमा स्वीकार गरेको हो।

एआई-आधारित प्रणालीले रियल-टाइम डाटा विश्लेषण गरेर लक्ष्य पहिचान तथा मिसाइललाई लक्ष्यतर्फ निर्देशित गर्न सहयोग पुर्‍याउने बताइएको छ।

असान इन्स्टिच्युट फर पोलिसी स्टडीजका सैन्य विज्ञ याङ युकेका अनुसार उत्तर कोरियाले एआईको प्रयोग विशेषगरी लक्ष्य पहिचान र मार्ग निर्देशन प्रणालीमा केन्द्रित गरेको देखिन्छ।

त्यस्तै, कोरिया इन्स्टिच्युट फर नेशनल युनिफिकेशनका विश्लेषक होङ मिनले उत्तर कोरियाले विद्यमान डिजिटल मार्ग निर्देशन प्रणालीलाई स्वचालित लक्ष्य पहिचान प्रविधिसँग संयोजन गरेको हुन सक्ने बताएका छन्।

यद्यपि, यसको वास्तविक प्राविधिक स्तर स्वतन्त्र रूपमा पुष्टि गर्न भने कठिन रहेको उनीहरूको भनाइ छ।

उत्तर कोरियाले पछिल्ला वर्षहरूमा लामो दूरीका ब्यालिस्टिक मिसाइल र आणविक क्षमता विस्तारसँगै परम्परागत तथा ट्याक्टिकल हतियार प्रणालीलाई पनि तीव्र रूपमा आधुनिकीकरण गर्दै आएको छ।

पछिल्लो परीक्षणलाई त्यसै रणनीतिक अभियानको निरन्तरताका रूपमा हेरिएको छ।

निरिह बन्दै सभामुख, हाबी हुँदै कार्यपालिका

काठमाडौं । नेपालको संविधानले राज्यका तीन प्रमुख अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच शक्ति पृथकीकरण तथा शक्ति सन्तुलनको सिद्धान्तलाई स्पष्ट रूपमा अवलम्बन गरेको छ ।

‘कुनै एक अंग निरंकुश बन्न नपाओस् र अर्को अंगले त्यसलाई नियन्त्रण तथा सन्तुलनमा राखोस्,’ लोकतान्त्रिक शासन प्रणालीको मूल मर्म पनि यही हो । तर पछिल्लो राजनीतिक अभ्यासले नेपालमा यो संवैधानिक सिद्धान्त कमजोर बन्दै गएको संकेत देखिन्छ । विशेषगरी व्यवस्थापिकाको भूमिकामाथि गम्भीर प्रश्न उठ्न थालेका छन् ।

व्यवस्थापिकाको नेतृत्व गर्ने सभामुख संसदको अभिभावक मानिन्छन् । संसदको गरिमा, सांसदहरूको अधिकार र कार्यपालिकामाथिको संसदीय निगरानी सुनिश्चित गर्नु सभामुखको प्रमुख दायित्व हो । तर वर्तमान राजनीतिक परिदृश्यमा सभामुख डीपी अर्यालको भूमिका अत्यन्त निरीह देखिन थालेको आरोप छ ।

लोकतन्त्रमा संसद सरकारलाई जवाफदेही बनाउने सबैभन्दा शक्तिशाली संस्था हो । प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ । संसदमा उठेका प्रश्नको उत्तर दिनु, नीतिगत विषयमा स्पष्ट धारणा राख्नु र जनप्रतिनिधिमार्फत जनताको आवाज सुन्नु लोकतान्त्रिक संस्कारको आधारभूत पक्ष हो । तर अहिलेसम्म प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति उत्तरदायी देखिएका छैनन् ।

प्रधानमन्त्री संसदमा नियमित उपस्थित हुँदैनन्, सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैनन् र महत्वपूर्ण बहसहरूमा मौन छन् । यसले व्यवस्थापिकाको प्रभावकारिता कमजोर भएको हो की भन्ने प्रश्न उठिरहेको छ । प्रतिपक्षी दलहरूले पटक पटक प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै संसद अवरोध गरे पनि सभामुखले रुलिङ गर्न नसकेका छैनन् । जबकी सभामुखसँग रुलिङ गर्न पाउने अधिकार छ। 

संवैधानिक प्रणालीमा न्यायपालिका स्वतन्त्र रहनुपर्ने मान्यता भए पनि केही दिन अगाडि मात्रै गरिएको प्रधानन्यायाधीश नियुक्तिमा कार्यपालिकाको प्रभाव देखियो । न्यायिक नियुक्तिमा राजनीतिक हस्तक्षेप बढ्दा शक्ति पृथकीकरणको सिद्धान्त कमजोर बन्दै जान्छ । स्थापित वरिष्ठताको परम्परा तोडेर न्यायाधीश नियुक्त गरिनु पनि यही बहसको एउटा उदाहरण हो।

राष्ट्रपतिजस्तो संवैधानिक संस्थाप्रति प्रधानमन्त्रीले देखाएको व्यवहारले पनि नेपाली राजनीतिक संस्कारमाथि गम्भीर प्रश्न उठाएको छ । राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकै बेला प्रधानमन्त्री बीचमै उठेर बाहिरिएको घटना संसदीय मर्यादाविपरीतको आचरण हो । त्यसलाई ‘नयाँ राजनीतिक शैली’ वा ‘कुल ट्रेन्ड’ का रूपमा चित्रण  गर्ने प्रयास पनि गरियो। तर आलोचकहरूले यसलाई संवैधानिक संस्थाप्रतिको अनादर भनेका छन् ।

संसदीय लोकतन्त्रमा सभामुख तटस्थ, निष्पक्ष र दृढ हुनुपर्छ । संसदको अधिकारमाथि हस्तक्षेप हुँदा वा कार्यपालिका हाबी हुँदा सभामुखले संविधान र नियमावलीको बलमा हस्तक्षेप गर्नुपर्ने अपेक्षा गरिन्छ । तर वर्तमान अवस्थामा सभामुख निरीक्षकजस्तो मात्र बनेको देखिन्छ ।

यदि व्यवस्थापिका कमजोर बन्दै जाने हो भने लोकतान्त्रिक प्रणालीको मूल आधार नै संकटमा पर्न सक्छ । संसद केवल औपचारिक संस्था बनेर सीमित हुने र कार्यपालिका शक्तिशाली हुँदै जाने अवस्था लोकतन्त्रका लागि दीर्घकालीन रूपमा खतरनाक हुन्छ । शक्ति सन्तुलन, संसदीय सर्वोच्चता र संवैधानिक जवाफदेहिताको अभ्यासलाई पुनः सुदृढ बनाउन व्यवस्थापिकाको अभिभावकको हिसाबले पनि सभामुखले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्छ ।

संगीतमा ‘एआई’ को वर्चस्वले धरासायी हुँदै मौलिकता

काठमाडौं। सूचना प्रविधिले तीव्र रूपमा रूपान्तरण गरिरहेको यो युग-समय-चक्रमा बाँचिरहेका छौँ। यस युगलाई विज्ञान प्रविधिको युग वा ‘एआई’को युगका रूपमा पनि व्याख्या गर्न सकिन्छ । 

एआईले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा नभई मानव भावनासँग गहिरो रूपमा जोडिएको कला क्षेत्रमा समेत  प्रभाव पार्न थालेको छ । विशेषगरी गीत-संगीतको क्षेत्रमा यसको प्रभाव स्पष्ट रूपमा देखिन थालेको छ ।

नेपाली संगीत उद्योगमा देखिएको एआई आधारित ‘पुराना गीत पुनःनिर्माण’ प्रवृत्ति केवल डिजिटल ट्रेन्ड मात्र नभई संरचनात्मक परिवर्तनको संकेतका रूपमा देखिएको छ। 

युट्युब, टिकटक र फेसबुक जस्ता प्लेटफर्ममा पुराना गीतहरूको ‘एआई भर्सन’ तीव्र रूपमा फैलिँदै जाँदा यसको प्रभाव सिर्जनात्मक अधिकार, रोयल्टी अर्थतन्त्र र सांस्कृतिक स्मृतिसम्म पुगेको विश्लेषण गरिएको छ। 

विशेषज्ञहरूका अनुसार एआई प्रविधिले संगीत उत्पादनलाई सरल र सस्तो बनाइदिएको छ। तर यसको दुरुपयोग बढ्दै जाँदा मौलिक सिर्जनाको अस्तित्व नै चुनौतीमा पर्न सक्ने अवस्था बनेको छ।

एआई भर्सनको विस्तार पहिलेको ‘रिमिक्स’ वा ‘रिमास्टर’ परम्पराभन्दा धेरै फरक देखिएको छ। पहिले गीतमा ध्वनि गुणस्तर सुधार, वाद्ययन्त्र परिमार्जन वा हल्का पुनः सम्पादन गरिन्थ्यो। 

तर अहिले स्वर नै परिवर्तन गर्ने, नयाँ गायकको जस्तो आवाज बनाउने र सम्पूर्ण संगीत संरचना पुनः डिजाइन गर्ने अभ्यास बढेको छ। यसले पुरानो गीतलाई पुनः सम्पादन गरिएको सामग्री मात्र नभई लगभग नयाँ सिर्जना जस्तो बनाइदिएको छ। डिजिटल संगीत विश्लेषकहरूका अनुसार यो अवस्था ‘एआई डेरिभेटिभ कृति’को स्तरमा पुगेको देखिन्छ।

यो प्रवृत्ति फैलिनुको मुख्य कारण केवल प्रविधि मात्र नभई डिजिटल प्लेटफर्मको एल्गोरिदमिक संरचना पनि हो। युट्युब र टिकटक जस्ता प्लेटफर्ममा छोटो भिडियो सामग्रीमा संगीतको प्रभाव बढी हुने भएकाले एआई भर्सन गीतहरूले छिटो भ्युज पाउने सम्भावना हुन्छ।

पुराना गीतप्रतिको भावनात्मक आकर्षण, नयाँ आवाजप्रति जिज्ञासा र एआई टुल्सको सहज उपलब्धताले मिलेर यसलाई ‘भाइरल इकोनोमी’ मा परिणत गरेको देखिन्छ।

यसको प्रत्यक्ष असर मौलिक स्रष्टाको आर्थिक अधिकारमा परेको छ। सामान्य रूपमा रोयल्टी प्रणाली गीतको मौलिक रेकर्डिङ, कम्पोजिसन, शब्द र प्रदर्शन अधिकारमा आधारित हुन्छ तर एआई भर्सनमा स्वर परिवर्तन, संरचना पुनः निर्माण र नयाँ शैलीको प्रयोग भएपछि रोयल्टी प्रणाली नै जटिल बन्न पुगेको छ।

कतिपय अवस्थामा एआई संस्करणले मौलिक गीतभन्दा बढी भ्युज पाउने भएकाले मौलिक सामग्री ओझेलमा पर्ने र स्रष्टाको नियमित आम्दानी घट्ने अवस्था देखिएको छ।

नेपाली संगीतका कालजयी स्रष्टा गोपाल योञ्जन का गीतहरूदेखि समकालीन लोकप्रिय रचना तथा पुरुषोत्तम न्यौपाने का गीतहरू, साथै राजु सिंह का संगीत र चलचित्र ‘साइनो’ का गीतहरू समेत एआई भर्सनमा पुनः निर्माण भएपछि सामाजिक सञ्जालमा पुनः लोकप्रिय बनेका छन्। तर यसले मौलिक संस्करणको पहिचान कमजोर बनाउने र नयाँ पुस्ताले एआई संस्करणलाई नै ‘मूल’ ठान्ने जोखिम बढाएको छ।

संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी का अनुसार अनुमति बिना गीतलाई एआईमार्फत रूपान्तरण गर्नु प्रत्यक्ष अधिकार हनन हो र यसले मौलिक स्रष्टालाई आर्थिक रूपमा वञ्चित बनाउँछ।

त्यस्तै गीतकार संघ नेपालका अध्यक्ष वसन्त थापा ‘वित्यासी’ले मौलिक सिर्जनाको अनुमति बिना गरिएको परिवर्तनलाई कानुनी र नैतिक रूपमा गलत भन्दै स्रष्टाको सहमति अनिवार्य हुनुपर्ने धारणा राखेका छन्।

नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धी कानुनले मौलिक संगीत, शब्द र स्वरलाई संरक्षण गर्ने व्यवस्था गरे पनि एआईद्वारा गरिएको ‘परिवर्तित सिर्जना’ स्पष्ट रूपमा परिभाषित नभएकाले कानुनी अस्पष्टता देखिएको छ। विशेषगरी एआई भर्सनलाई नयाँ कृति मान्ने कि मौलिक कृतिको ‘व्युत्पन्न’ मान्ने भन्ने विषय अझै स्पष्ट छैन। 

यस कारण रोयल्टी कसले पाउने, अधिकार कसको हुने र अनुमति आवश्यक हुने कि नहुने भन्ने प्रश्नमा विवाद बढ्दै गएको छ।

डिजिटल प्लेटफर्म युट्युब र टिकटकमा ‘एआई कभर’, ‘रिमेक’, वा ‘कपीराइट फ्री’ जस्ता लेबल प्रयोग गरी सामग्री अपलोड गर्ने क्रम बढेको छ तर धेरैजसो अवस्थामा मौलिक स्रष्टाको अनुमति बिना नै गीत रूपान्तरण गरिएको आशंका गरिएको छ। यसले प्लेटफर्महरूमा सामग्री नियन्त्रण र कपीराइट व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ।

विशेषज्ञहरूका अनुसार यो समस्या आर्थिक वा कानुनी मात्र नभई सांस्कृतिक समस्या पनि हो। यसले मौलिक गीतको ऐतिहासिक मूल्य कमजोर हुने, स्रष्टाको पहिचान ओझेलमा पर्ने, नयाँ पुस्ताले एआई संस्करणलाई नै मूल ठान्ने र संगीत इतिहास नै डिजिटल रूपमा पुनर्लेखन हुने जोखिम देखिएको छ।

तर एआई प्रविधिको सकारात्मक पक्ष पनि रहेको छ। यसले नयाँ कलाकारलाई कम लागतमा संगीत उत्पादन गर्न सहयोग गर्ने, पुराना गीतलाई आधुनिक शैलीमा पुनः प्रस्तुत गर्ने, संगीत सिकाइमा उपयोगी हुने र प्रयोगात्मक संगीतको विकास गर्ने सम्भावना बोकेको छ। तर यसको प्रयोग अनुमति, पारदर्शिता र जिम्मेवारीसहित हुनुपर्नेमा विज्ञहरूको जोड छ।

विशेषज्ञहरूका अनुसार अबको आवश्यकता स्पष्ट कानुनी ढाँचा निर्माण गर्नु हो जसले एआईद्वारा सिर्जित वा रूपान्तरित संगीतलाई स्पष्ट रूपमा परिभाषित गर्न सकोस्। साथै डिजिटल प्लेटफर्महरूले पनि मौलिक स्रष्टाको अधिकार सुरक्षित गर्ने कडा नीति लागू गर्नुपर्ने देखिन्छ।

एआई भर्सन गीतहरूको बढ्दो प्रयोग प्रविधिको विकासको संकेत भए पनि यसले मौलिक स्रष्टाको अधिकार, रोयल्टी प्रणाली र सांस्कृतिक मूल्यमा गम्भीर चुनौती खडा गरेको छ। 

समयमै स्पष्ट कानुनी संरचना र नीतिगत व्यवस्था नभएमा मौलिक नेपाली संगीत उद्योग दीर्घकालीन रूपमा कमजोर हुन सक्ने जोखिम समेत मौलाउँसै गएको छ।

एआई प्रविधि रोक्न नसकिने भए पनि यसको जिम्मेवार प्रयोग र नियमन नै भविष्यको मुख्य दिशा हुने देखिन्छ ।

४० वर्षमाथिका यी फुटबलर : जसले विश्वकप खेलेका छन् र खेल्दैछन्

काठमाडौं।  फिफा विश्वकपको इतिहासमा धेरै खेलाडीहरूले उमेरलाई चुनौती दिँदै ४० वर्षभन्दा माथि पुगेर पनि विश्वकप खेलेका छन्। अनुभव, फिटनेस र समर्पणका कारण ती खेलाडीहरूले विश्व फुटबलमा विशेष पहिचान बनाए । अब सन् २०२६ को विश्वकपमा पनि यस्तै अनुभवी खेलाडीहरूको उपस्थिति देखिने सम्भावना रहेको छ।

विश्वकप इतिहासमा सबैभन्दा बढी उमेरमा खेल्ने कीर्तिमान एसाम एल हदारी को नाममा छ। उनले सन् २०१८ मा इजिप्टबाट साउदी अरेबियाविरुद्ध खेल्दा ४५ वर्ष १६१ दिनको उमेर पार गरिसकेका थिए। त्यसअघि फारिद मोन्द्रागोनले सन् २०१४ मा कोलम्बियाबाट जापानविरुद्ध खेल्दै ४३ वर्ष ३ दिनको उमेरमा विश्वकप खेल्ने कीर्तिमान बनाएका थिए।

यस्तै, रोजर मिलाले १९९४ को विश्वकपमा क्यामरुनबाट रुसविरुद्ध खेल्दा ४२ वर्षको उमेर पार गरेका थिए।प्याट जेनिङ्स, पिटर शिल्टन, डिनो जोफ, अली बुम्निजेलले पनि ४० वर्षभन्दा माथिको उमेरमा विश्वकप खेलेर इतिहास रचेका थिए।

सन् २०२६ को विश्वकपमा पनि अनुभवी खेलाडीहरूको चर्चा भइरहेको छ। यो विश्वकपमा क्रेग गोर्डन सबैभन्दा पाका उमेरका खेलाडीका रुपमा विश्वकपमा सहभागी हुनेछन्। उनी स्कटिस गोलकीपर हुन्। 

त्यस्तै पोर्चुगलका कप्तान क्रिश्चियानो रोनाल्डो पनि ४० वर्षको उमेरमा पोर्चुगलबाट विश्वकप खेल्न तयारीमा छन्। रोनाल्डोको सम्भावित सहभागिताले विश्व फुटबल समर्थकमाझ ठूलो उत्साह सिर्जना गरेको छ। उमेर बढ्दै गए पनि उनी अझै उच्च स्तरको प्रदर्शन गरिरहेका छन्। 

यसले अनुभव, अनुशासन र फिटनेसका माध्यमबाट खेलाडीहरूले लामो समयसम्म अन्तर्राष्ट्रिय फुटबलमा टिक्न सक्ने सन्देश दिएक छन् ।

‘जेप क्वालालम्पुर’ कन्सर्ट : नेपथ्य पहिलो पटक मलेसिया जाँदै

काठमाडौं। लोकरक ब्यान्ड ‘नेपथ्य’ अब वैदेशिक रोजगारी तथा अध्ययनका सिलसिलामा विदेशिएका नेपाली दर्शकलाई लक्षित गर्दै मलेसियामा पहिलो पटक सांगीतिक प्रस्तुति दिने भएको छ।

लामो समयदेखि विभिन्न देशमा रहेका नेपाली समुदायमाझ निरन्तर कन्सर्ट गर्दै आएको यो ब्यान्डले यस पटक मलेसियाको राजधानी क्वालालम्पुरमा कार्यक्रम गर्ने तयारी गरेको हो।

क्यानडा र त्यसपछि न्युजिल्यान्डको सफल भ्रमण सकेर गत साता स्वदेश फर्किएको नेपथ्य समूहले आगामी जुन १ अर्थात जेठ १८ गते क्वालालम्पुरस्थित ‘जेप क्वालालम्पुर’ मा कन्सर्ट प्रस्तुत गर्नेछ। आयोजकका अनुसार उक्त कार्यक्रममा नेपाली दर्शकले लोकधुनमा आधारित रक गीतहरूको प्रत्यक्ष आनन्द लिन पाउनेछन्।

जापानको ‘जेप नेटवर्क’ अन्तर्गत चार वर्षअघि स्थापना गरिएको यो अन्तर्राष्ट्रिय रंगमञ्च क्वालालम्पुरको प्रमुख पर्यटकीय क्षेत्र बुकित बिन्ताङमा अवस्थित छ। नेपथ्यको यो प्रस्तुति मलेसियामा पहिलो भए पनि समूहका लागि अन्तर्राष्ट्रिय यात्रामा २० औं देश र क्वालालम्पुर ५८ औं अन्तर्राष्ट्रिय सहर हुने बताइएको छ।

स्थापनाको साढे तीन दशक लामो यात्रामा वैदेशिक रोजगारीका गन्तव्यहरू नै ब्यान्डका लागि प्रारम्भिक आधार बनेको मानिन्छ। ब्यान्डको जीवनीमा पनि सन् ९० को दशकताका जापान र हङकङका अनुभवलाई विशेष रूपमा उल्लेख गरिएको छ।

त्यसैगरी, पछिल्ला प्रस्तुति कार्यक्रममा समावेश हुँदै आएको ‘मै मरिजाउँला, जीवन छोटो छ’ बोलको गीतको म्युजिक भिडियोमा पनि विदेशमा श्रम गरेर परिवारको भविष्य बनाउने युवाको कथा प्रस्तुत गरिएको छ।

ब्यान्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङले मलेसियामा रहेका नेपाली दर्शकसँग प्रत्यक्ष भेट हुने अवसरलाई लिएर खुशी व्यक्त गरेका छन्।

उनका अनुसार, ‘मलेसियाबाट धेरै समयदेखि सामाजिक सञ्जालमार्फत संवाद गरिरहनुभएका दर्शकसँग प्रत्यक्ष भेट हुने अवसर मिल्नु निकै खुशीको कुरा हो। रेमिट्यान्समार्फत देशको अर्थतन्त्रलाई योगदान दिइरहेका नेपाली युवासँग संगीतमार्फत जोडिन हामी उत्साहित छौं।’

आयोजक संस्था ‘आर्बिटरी इभेन्ट्स’ ले कार्यक्रमलाई लिएर मलेसियामा रहेका नेपाली समुदायबीच ठूलो उत्साह देखिएको जनाएको छ।

संस्थाका प्रतिनिधि विपिन नकर्मीका अनुसार, ‘विभिन्न जमघटमा कन्सर्टबारे चर्चा भइरहेको छ, फोनमार्फत जानकारी लिनेहरू पनि बढिरहेका छन्। दर्शकको सहजताका लागि आवश्यक व्यवस्थापन मिलाइरहेका छौं।’

आयोजकले अनलाइन टिकटसँगै दर्शकको सुविधाका लागि घरमै टिकट डेलिभरीको व्यवस्था पनि मिलाइएको जनाएको छ। यसले श्रमिक तथा व्यस्त दर्शकलाई सहज हुने अपेक्षा गरिएको छ।

नेपथ्यको व्यवस्थापन पक्षका अनुसार विदेशका हरेक कन्सर्टलाई समान स्तरको बनाउन कलाकार, प्राविधिक र व्यवस्थापन टोलीसहितको सम्पूर्ण तयारी गरिएको छ। ब्यान्डका व्यवस्थापक किरणकृष्ण श्रेष्ठका अनुसार, ‘दर्शकलाई केवल संगीत मात्र होइन, नेपाली समुदायको साझा अनुभव पनि दिने प्रयास गरिएको छ।’

कन्सर्टमा मुख्य गायक अमृत गुरुङसँगै ड्रममा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।

टिकट बिक्री अनलाइनमार्फत र फोन बुकिङ प्रणालीमार्फत उपलब्ध गराइएको छ।

असंसदीय तवरले सांसद सेन्दाङ निष्काशित,के भन्छ नियम ३० र ३१ ?

काठमाडौं। प्रतिनिधि सभा बैठकबाट कांग्रेस सांसद निकालिइन्। निकालिने कांग्रेस सांसद गीता सेन्दाङ हुन् ।

सभामुखको स्पष्ट आदेशबिना नै मर्यादापालकले सांसदमाथि हस्तक्षेप गरेको आरोप  गरेको हो।

पहिलो बैठकका क्रममा   सांसद सेन्दाङलाई तीन जना मर्यादापालकले घेरेर बाहिर लैजान खोजेका थिए।

जुन संसदीय मर्यादा र प्रक्रिया विपरीत रहेको छ।

संसदमा कांग्रेसले आपत्ति जनाएपछि यस विषयमा सभामुख डोलप्रसाद अर्यालले भने सांसद सेन्दाङको गतिविधि सभाको मर्यादाविपरीत देखिएको बताए ।

उनले बैठक सञ्चालन भइरहेका बेला सभामुखतर्फ लक्षित गरी फोटो वा भिडियो खिच्ने प्रयास भएको जानकारी आफूले पाएको बताए ।

सभामुख अर्यालका अनुसार उनले मोबाइलमा फोटो वा भिडियो खिचिएको छ कि छैन भन्ने विषयमा चेकजाँच गर्न निर्देशन दिएका थिए। सांसदलाई बाहिर निकाल्न आदेश नदिएको स्पष्ट पारे ।

उनले भने, ‘उहाँले मोबाइलबाट फोटो वा भिडियो खिच्नुभएको छ कि छैन भनेर चेकजाँच गर्न निर्देशन दिएको हो । बाहिर निकालिएको होइन । विषयलाई तोडमोड गरेर प्रस्तुत नगरियोस् ।’

यस्तै,सांसद सेन्दाङले बैठकमा उनले फोटो खिचेको भन्दै बाहिर लगेको र मर्यादापालकले फोटो डिलिट गर्न लगाएको बताएकी छन् ।

उनले आफूलाई बैठकमा फोटो र भिडियो खिच्न हुँदैन भन्ने थाहा नभएको बताएकी छन् । तर, सांसदलाई मर्यादा सिकाउने काम संसद् बैठकमा खटिने मर्यादापालकको होइन, सभामुखकाे हो । यस्ताेमा सभामुखले सुरुमा सचेत गराउन सक्छन् ।

त्यस्तै,यस्तो अवस्थामा सभामुखले प्रतिनिधिसभा नियमावलीको नियम ३० चेतावनी दिन सक्छन्। चेतावनी दिँदा पनि नमाने बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्छन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ३० र  ३१ मा यस सम्बन्धी प्रावधान छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ३० र  ३१ मा के छ ?

३०.चेतावनीः 

बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ ।

३१. बैठक कक्षबाट निष्काशनः

(१) नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ । आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर जानु पर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन ।

(२) उपनियम (१) बमोजिमको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्नेछ ।

(३) उपनियम (२) बमोजिम बैठकबाट निष्कासित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन पाउने छैन । यसरी निकालिएकोमा सचिवले सोको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ ।

गीतालाई कारबाही, आशिकालाई छुट

काठमाडौं। नेपाली कांग्रेस ले आफ्ना सांसद गीता सेन्दाङलाई प्रतिनिधिसभा बैठकबाट बाहिर निकालिएको विषयमा आपत्ति जनायो ।

कांग्रेसका सचेतक निष्कल राई ले सभामुखको पूर्वचेतावनीबिनै मर्यादापालकमार्फत सांसदलाई बाहिर निकालिएको भन्दै विरोध जनाए । उनले प्रतिनिधिसभा नियमावलीअनुसार कुनै सांसदलाई बाहिर निकाल्नुअघि सभामुखले सचेत गराउनुपर्ने व्यवस्था रहेको बताए ।

सेन्दाङलाई बैठकमा फोटो खिचेको आरोपमा बाहिर लगिएको र मर्यादापालकले फोटोसमेत डिलिट गर्न लगाएको बताइएको छ । उनले आफूलाई बैठकमा फोटो तथा भिडियो खिच्न नहुने जानकारी नभएको बताएकी छन् ।

यता सभामुख डीपी अर्याल ले भने आफ्नै निर्देशनमा मर्यादापालकले सेन्दाङलाई बाहिर निकालेको स्पष्ट पारेका छन् ।

यसबीच, सत्तापक्षकी सांसद आशिका तामाङले भने प्रतिनिधिसभा बैठकको फोटो फेसबुकमा सार्वजनिक गरेपछि सदनमा प्रतिपक्ष र सत्तापक्षका लागि फरक व्यवहार गरिएको भन्दै प्रश्न उठेको छ ।

आशिकाले फेसबुकमा राखेको फोटो : 

आफ्ना सांसदलाई बैठकबाट निकालिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं ।  नेपाली कांग्रेस ले आफ्ना सांसद गीता सेन्दाङ लाई प्रतिनिधिसभा बैठकबाट बाहिर निकालिएको विषयमा आपत्ति जनाएको छ ।

मंगलबारको बैठकमा बोल्दै कांग्रेसका सचेतक निष्कल राई ले सभामुखले पूर्वसूचना वा सचेतसमेत नगराई सांसदलाई बाहिर निकालिएको भन्दै विरोध जनाए ।

उनले प्रतिनिधिसभा नियमावलीको नियम ३० अनुसार कुनै सदस्यलाई बाहिर निकाल्नुअघि सभामुखले सचेत गराउनुपर्ने व्यवस्था रहेको उल्लेख गरे ।

‘नियमावलीअनुसार पहिला सभामुखले सचेत गराउनुपर्ने हो । तर त्यसो नगरी मर्यादापालकमार्फत हाम्रो सांसदलाई बाहिर निकालियो । यसप्रति हाम्रो गम्भीर आपत्ति छ,’ राईले भने ।

यता सभामुख डीपी अर्याल ले भने आफ्नै निर्देशनमा मर्यादापालकले गीता सेन्दाङलाई बैठकबाट बाहिर निकालेको स्पष्ट पारे ।

करका दरमा सुधारको माग गर्दै सरकारलाई महासंघको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ले करका दरमा व्यापक सुधारको माग गर्दै सरकारलाई २१८ बुँदे बजेट सुझाव पेश गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि महासंघले सुशासन, डिजिटल सेवा प्रवाह, आर्थिक रूपान्तरण, लगानी प्रवर्द्धन, कर प्रणाली सुधार, बैंक तथा बीमा, पुँजीबजार, उद्योग, पर्यटन, कृषि, ऊर्जा र निर्यात प्रवर्द्धनलगायतका विषय समेटेर सुझाव दिएको हो ।

महासंघले उत्पादनमूलक उद्योगमा लाग्दै आएको कर आगामी पाँच वर्षभित्र ५ प्रतिशत बिन्दुले घटाउन प्रस्ताव गरेको छ । साथै बैंक, वित्तीय संस्था, बीमा, दूरसञ्चार, इन्टरनेट सेवा, मर्चेन्ट बैंकिङ तथा धितोपत्र र पुँजीबजारसम्बन्धी व्यवसायमा २५ प्रतिशत कर कायम गर्नुपर्ने सुझाव दिएको छ ।

त्यस्तै पाँचतारे तथा सोभन्दा माथिका होटल, लक्जरी रिसोर्ट र सुनका गरगहनामा लाग्दै आएको २ प्रतिशत विलासिता शुल्क घटाएर ०.१ प्रतिशत कायम गर्न पनि महासंघले आग्रह गरेको छ ।

महासंघले आयकर ऐन, २०५८ को दफा ५७ अन्तर्गतको स्वामित्व परिवर्तनसम्बन्धी व्यवस्था संशोधन गर्नुपर्ने, बोनस सेयरलाई लाभांश मानेर कर नलगाउनुपर्ने तथा मुनाफाको ४० प्रतिशत वा सोभन्दा बढी रकम पुनर्लगानी गरे आयकर छुट दिनुपर्ने सुझाव पनि पेश गरेको छ ।

वार्षिक २ करोड रुपैयाँसम्म कारोबार गर्ने व्यवसायमा कारोबारमा आधारित कर प्रणाली लागू गर्न तथा करको दर आधा घटाउनुपर्ने माग महासंघको छ । यस्तै अग्रिम आयकरको दर अधिकतम १.५ प्रतिशत कायम गर्न र व्यक्तिगत आयकरतर्फ दुई सन्तानसम्मको शिक्षा शुल्क, पहिलो घर तथा सवारी खरिदका लागि लिएको ऋणको किस्ता र बीमा प्रिमियममा कर छुट दिनुपर्ने प्रस्ताव गरिएको छ ।

महासंघले सुनचाँदीको भन्सार दर भारतसरह बनाउन, सुन आयातमा रहेको कोटा प्रणाली हटाउन तथा स्थानीय तहले उठाउने व्यवसाय, सम्पत्ति र विज्ञापन करलाई एकरूप र व्यवसायमैत्री बनाउन आग्रह गरेको छ ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले वैध माध्यमबाट पठाएको रेमिट्यान्सका आधारमा परिवारलाई सहुलियत उद्यमी कर्जा उपलब्ध गराउनुपर्ने सुझाव पनि दिइएको छ । बैंकहरूलाई नियामकीय पुँजीको ५ देखि १० प्रतिशतसम्म स्टार्टअप तथा भेन्चर क्यापिटल कोषमा लगानी गर्न दिनुपर्ने र नेपाललाई ग्रे–लिस्टबाट बाहिर निकाल्न आवश्यक पहल गर्नुपर्ने महासंघको माग छ ।

पर्यटन क्षेत्रको विकासका लागि भारतीय सीमावर्ती चिसो क्षेत्रमा हिलस्टेसन, रिसोर्ट, धार्मिक पर्यटन र फन पार्क निर्माणमा पूर्वाधार तथा वित्तीय प्रोत्साहन उपलब्ध गराउनुपर्ने सुझावसमेत महासंघले दिएको छ ।

चीन किन दिँदैछ रोबोटलाई डिजिटल परिचयपत्र ?

काठमाडौं। चीनले आफ्नो देशमा उत्पादन हुने सबै मानवरूपी रोबोटलाई डिजिटल परिचय दिने योजना अघि बढाएको छ । अब कृत्रिम बौद्धिकता प्रविधिमा आधारित दुई खुट्टे मानवरूपी रोबोटहरूलाई राष्ट्रिय परिचयपत्रजस्तै छुट्टै पहिचान नम्बर प्रदान गरिने भएको हो ।

चीनको सरकारी पहल अन्तर्गत सुरु गरिएको ‘मानवरूपी रोबोट पूर्ण जीवनचक्र व्यवस्थापन सेवा प्रणाली’ मार्फत यस्तो व्यवस्था लागू गर्न लागिएको हो । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार यो प्रणाली उत्पादनदेखि प्रयोग, मर्मत, बिक्री र पुनःप्रयोगसम्म रोबोटको सम्पूर्ण गतिविधि निगरानी गर्न प्रयोग गरिनेछ ।

यो कार्यक्रम चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको मानवरूपी रोबोट तथा कृत्रिम बौद्धिकता मापदण्ड समितिको नेतृत्वमा सञ्चालन भइरहेको बताइएको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार रोबोट उद्योग तीव्र रूपमा विस्तार भइरहेका बेला सुरक्षा, नियमन र जोखिम व्यवस्थापनलाई व्यवस्थित बनाउन डिजिटल परिचय प्रणाली आवश्यक ठानिएको हो ।

यस प्रणालीअन्तर्गत प्रत्येक रोबोटलाई विशेष पहिचान कोड प्रदान गरिनेछ । उक्त कोड चार भागमा विभाजन गरिएको छ । पहिलो भागमा दुई अङ्कको राष्ट्रिय कोड रहनेछ। जसले अन्तरदेशीय बिक्री र ढुवानी पहिचान गर्न सहयोग गर्नेछ ।

दोस्रो भाग चार अङ्कको कम्पनी कोड हुनेछ। जसबाट निर्माता कम्पनी पहिचान गर्न सकिनेछ । तेस्रो भाग छ अङ्कको मोडेल कोड रहनेछ भने अन्तिम भाग १७ अङ्कको क्रम सङ्ख्या हुनेछ। जसले प्रत्येक रोबोटलाई फरक पहिचान दिनेछ ।

चीन इलेक्ट्रोनिक्स मापदण्ड संस्थानका उपप्रमुख यू सिउमिङका अनुसार यो प्रणाली निर्माता कम्पनी, सेवा प्रदायक, विक्रेता, प्रयोगकर्ता र पुनःप्रयोग केन्द्रसम्म लागू हुनेछ ।

उनका अनुसार डिजिटल परिचय प्रणालीले सुरक्षा, नियमन र व्यवस्थापनसँग सम्बन्धित चुनौती समाधान गर्न तथा मानवरूपी रोबोटको प्रयोगलाई विस्तार गर्न सहयोग गर्ने लक्ष्य राखेको छ ।

हालसम्म चीनका एक सयभन्दा बढी रोबोट निर्माता कम्पनी र करिब २८ हजार रोबोटमा यो प्रणाली लागू भइसकेको बताइएको छ ।

अन्तर्राष्ट्रिय तथ्याङ्कअनुसार विश्वव्यापी मानवरूपी रोबोट बजार पछिल्लो समय तीव्र रूपमा विस्तार भइरहेको छ । गत वर्ष मात्रै यस्तो बजार पाँच सय प्रतिशतभन्दा बढीले वृद्धि भएको उल्लेख गरिएको छ ।

बलियो औद्योगिक आपूर्ति शृंखला, कृत्रिम बौद्धिकता अनुसन्धान र प्रविधिमा लगानीका कारण चीन अहिले विश्व रोबोट उद्योगको अग्रणी मुलुकका रूपमा उभिएको विश्लेषण गरिएको छ ।

गत महिना बेइजिङमा आयोजित मानवरूपी रोबोट हाफ म्याराथन प्रतियोगिताले पनि चीनको प्राविधिक प्रगति झल्काएको थियो । मानव र रोबोटबीच प्रतिस्पर्धा गरिएको उक्त प्रतियोगितामा ‘लाइटनिङ’ नामक रोबोटले ५० मिनेट २६ सेकेन्डमा दौड पूरा गर्दै नयाँ कीर्तिमान बनाएको थियो ।

यो रोबोट चिनियाँ प्रविधि कम्पनी ‘अनर’ले विकास गरेको हो । अघिल्लो वर्ष विजेता बनेको ‘टियाङगङ’ नामक रोबोटले सोही दूरी पूरा गर्न दुई घण्टा ४० मिनेट लगाएको थियो । यसले केवल एक वर्षमै चीनको रोबोट प्रविधिमा उल्लेखनीय प्रगति भएको देखाएको छ ।

विशेषज्ञहरूका अनुसार चीनको यो डिजिटल परिचय प्रणाली भविष्यमा कृत्रिम बौद्धिकता र रोबोट नियमनको विश्वव्यापी नमुना बन्न सक्ने सम्भावना छ।

तर यससँगै गोपनीयता, निगरानी र प्रविधिमाथिको सरकारी नियन्त्रणबारे नयाँ बहस पनि सुरु भएको छ।

सभामुखको आदेश बिनै कांग्रेस सांसद निकालिए बैठकबाट

काठमाडौं। प्रतिनिधि सभा बैठकबाट कांग्रेस सांसद निकालिएका छन् । निकालिने कांग्रेस सांसद गीता सेन्दाङ हुन् ।

सभामुख डीपी अर्यालकाे आदेश बिनै मर्यादापालकहरुले कांग्रेस सांसद सेन्दाङलाई संसद् बैठकबाट निकालेका हुन् । जबकि, कुनै सांसदलाई बैठक कक्षबाट निकाला गर्नुपरे सभामुखले रुलिङ गर्नुपर्छ ।

तर, सभामुख अर्यालले रुलिङ गरेका थिएनन् । बैठकमा उनले फोटो खिचेको भन्दै बाहिर लगेको र मर्यादापालकले फोटो डिलिट गर्न लगाएको उनले बताएकी छन् ।

उनले आफूलाई बैठकमा फोटो र भिडियो खिच्न हुँदैन भन्ने थाहा नभएको बताएकी छन् । तर, सांसदलाई मर्यादा सिकाउने काम संसद् बैठकमा खटिने मर्यादापालकको होइन, सभामुखकाे हो । यस्ताेमा सभामुखले सुरुमा सचेत गराउन सक्छन् ।

सचेत गराउँदा पनि नमाने बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्छन् । प्रतिनिधिसभा नियमावलीको नियम ३१ मा यस सम्बन्धी प्रावधान छ ।

तर, कांग्रेस सांसद सेन्दाङलाई सभामुखको आदेशबिनै बाहिर किन निकालियो ? प्रश्न उठ्न थालेको छ ।

परेश रावल र निर्माण पक्षबीच विवाद,‘हेरा फेरी ३’ अन्योलमा

काठमाडौं । बलिउडको चर्चित कमेडी फिल्म शृंखला ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी ३’ निर्माण प्रक्रिया फेरि अन्योलमा परेको छ ।

लामो समयदेखि चर्चामा रहेको यो फिल्म कलाकार र निर्माण पक्षबीचको विवादका कारण अझै छायांकनमा जान सकेको छैन ।

फिल्मका मुख्य कलाकारमध्ये एक अभिनेता परेश रावलले पुनः फिल्मबाट अलग हुने संकेत दिएपछि निर्माण प्रक्रिया थप जटिल बनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसअघि पनि समय अभावको कारण देखाउँदै उनले फिल्ममा काम गर्न असमर्थ रहेको बताएका थिए । त्यसपछि निर्माण पक्ष र उनीबीच विवाद सुरु भएको थियो ।

रिपोर्टअनुसार फिल्मका लागि अग्रिम पारिश्रमिक लिइसकेपछि पनि छायांकनका लागि समय नदिएको आरोप लगाउँदै अभिनेता अक्षय कुमारको निर्माण कम्पनीले परेश रावलविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको थियो । त्यसयता दुवै पक्षबीच सम्बन्ध चिसिएको बताइएको छ ।

यसैबीच, निर्देशक प्रियदर्शनले पनि पहिलो पटक सार्वजनिक रूपमा यस विषयमा प्रतिक्रिया दिएका छन् ।

भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले परेश रावलले फिल्ममा काम नगर्ने संकेत दिएको र आफूले लिएको पारिश्रमिक १५ प्रतिशत ब्याजसहित फिर्ता गर्ने प्रतिबद्धता जनाएको बताए ।

प्रियदर्शनका अनुसार मुद्दा दायर गरिएपछि परेश रावल भावनात्मक रूपमा असन्तुष्ट बनेका छन् । उनले अब पूर्ण रूपमा फिल्म छाड्ने वा पुनः फर्किने भन्ने विषय स्पष्ट भएपछि मात्र छायांकन प्रक्रिया अघि बढाइने बताए ।

‘हेरा फेरी’ शृंखलामा परेश रावलले निर्वाह गर्दै आएको ‘बाबु राव गणपत राव आप्टे’ पात्रलाई दर्शकले अत्यधिक रुचाएका छन् ।

अक्षय कुमार, सुनील शेट्टी र परेश रावलको त्रयीलाई नै फिल्मको मुख्य आकर्षण मानिने भएकाले उनको अनुपस्थितिमा फिल्म निर्माण चुनौतीपूर्ण बन्न सक्ने चर्चा बलिउडमा भइरहेको छ ।

सन् २००० मा प्रदर्शन भएको पहिलो ‘हेरा फेरी’ र त्यसपछि आएको दोस्रो श्रृंखलाले भारतीय सिनेमामा कमेडी विधामा विशेष लोकप्रियता हासिल गरेका थिए ।

तर तेस्रो भाग भने पटक–पटक विवाद, कलाकार परिवर्तन र निर्माण ढिलाइका कारण दुई वर्षभन्दा बढी समयदेखि रोकिएको अवस्थामा छ ।

प्रतिनिधि सभामा विपदबारे सरकारको ध्यानाकर्षण

काठमाडौं। मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले देशका विभिन्न भागमा आएको विनाशकारी हावाहुरी, बाढी र पहिरोजस्ता प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूलाई तत्काल उद्धार, राहत तथा सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

उनीहरूले विपद् व्यवस्थापनमा राज्यको प्रतिक्रिया ढिलो र कमजोर भएको भन्दै दीर्घकालीन जोखिम न्यूनीकरणका योजना समेत आवश्यक रहेको बताएका हुन्।

बैठकमा बोल्दै सांसदहरूले पछिल्लो हावाहुरी र मौसममा आएको आकस्मिक परिवर्तनका कारण गुल्मी, बागलुङ, पाँचथर र सिन्धुली लगायतका जिल्लाहरूमा जनजीवन गम्भीर रूपमा प्रभावित भएको उल्लेख गरे ।

उनीहरूले हजारौं नागरिक घरबारविहीन भएको, खाद्यान्न नष्ट भएको तथा धेरै ठाउँमा दैनिक जीवन ठप्प भएको अवस्थाबारे सरकारको ध्यानाकर्षण समेत गराए ।

बैठकमा रास्वपाका सांसद आशिष गजुरेलले पानीजन्य जोखिम नियन्त्रण र सचेतनालाई शिक्षा प्रणालीमै समावेश गर्नुपर्ने आवश्यकता औँल्याए । उनले विद्यालय तहदेखि नै बालबालिकालाई विपद् व्यवस्थापन, पूर्वसतर्कता र सुरक्षा सम्बन्धी व्यवहारिक ज्ञान दिनुपर्ने बताए ।

उनले हालै सिन्धुलीमा पौडी खेल्ने क्रममा नाबालकहरूले ज्यान गुमाउनु परेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै भौतिक पूर्वाधार निर्माणका क्रममा खाल्डाखुल्टी जथाभाबी छाड्ने तथा सुरक्षाका न्यूनतम मापदण्ड पालन नगर्ने निर्माण व्यवसायी र जिम्मेवार निकायलाई कडा कारबाही गर्न माग गरे । उनले यस्ता लापरवाहीले जनधनको जोखिम झन् बढाइरहेको जिकिर गरे ।

यसैगरी सांसद गोविन्द पन्थीले गुल्मी जिल्लामा गएको भीषण हावाहुरीले ठूलो धनजनको क्षति पुर्‍याएको तथ्य संसदमा प्रस्तुत गरे । उनका अनुसार गुल्मीमा मात्रै करिब ६ सय नागरिक प्रत्यक्ष प्रभावित भएका छन् भने उनीहरूको खाद्यान्न नष्ट भएको र धेरै परिवारहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन् । उनले प्रभावित परिवारका लागि तत्काल राहत सामग्री, खाद्यान्न र अस्थायी बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरे ।

त्यस्तै सांसद बलावती शर्माले बागलुङमा हावाहुरी र चट्याङका कारण नागरिकले ठूलो कष्ट भोग्नु परेको बताइन् । उनले तत्काल राहत वितरणमा ढिलाइ नगर्न सरकारलाई आग्रह गर्दै भविष्यमा यस्ता विपद् दोहोरिन नदिन जोखिमयुक्त बस्ती पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण (पुनर्वास) गर्ने दीर्घकालीन योजना आवश्यक रहेको बताइन् ।

यसैबीच सांसद भूमिका लिम्बू सुब्बा ले पाँचथर जिल्लामा बाढी र पहिरोले पुर्‍याएको क्षतिको यथार्थ विवरण तत्काल संकलन गर्न सरकारसँग माग गरिन् । उनले घरबारविहीन बनेका नागरिकका लागि अस्थायी आवास, खाद्यान्न तथा अत्यावश्यक सेवाको व्यवस्था तुरुन्त गर्न सरकारलाई आग्रह गरिन् ।

सांसदहरूले समग्रमा विपद् व्यवस्थापनलाई प्रतिक्रियात्मक नभई पूर्वतयारीमुखी बनाउनुपर्नेमा जोड दिएका छन् । 

उनीहरूले राहत वितरणलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउनुपर्ने तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहदेखि संघीय सरकारसम्म समन्वय बलियो बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘सरकारले जीवन भत्काइदियो’

शान्तिनगर सुकुमवासी बस्तीबाट विस्थापित भएर बनेपाको होल्डङ सेन्टरमा बसिरहेका लालबहादुर लिम्बु भन्दै थिए, ‘२०५७ सालमा म काठमाडौं आए। राजधानीले धेरैलाई सपना देखाउँछ, तर सबैलाई ठाउँ दिँदैन। त्यही क्रममा म शान्तिनगरस्थित सुकुमवासी बस्ती पुगे। त्यहाँ बाँसको सानो टहरा ठडाए । पानी चुहिने, हावा छिर्ने, साँघुरो कोठा। त्यही कोठा मेरो संसार बन्यो।’

‘हामी सुकुमवासी हौं, तर मान्छे पनि हौं,’ लिम्बु भन्छन्।

गत वैशाख १२ गते बिहान शान्तिनगर सुकुमवासी बस्तीमा डोजर आयो । सरकारले चलाएको सुकुमवासी बस्ती हटाउने अभियानको चेपुवामा लिम्बुपनि परे। क्रमश: डोजरले उनको घर पनि भत्कायो।

उसो त त्यो दिन बस्तीभर रुवाबासी चल्यो । मानिसहरू हतार–हतार सामान बोकेर भागिरहेका थिए। कतै बच्चा रोइरहेका थिए, कतै वृद्धहरू चिच्याइरहेका थिए।

काठमाडौंको शान्तिनगर सुकुमवासीबस्ती अहिले पहिले जस्तो छैन। केही समयअघिसम्म टिनका छाना, बाँसका टहरा, साँघुरा गल्ली र मानिसहरूको भीडले भरिएको त्यो ठाउँ अहिले खाली देखिन्छ। कतै भत्किएका बाँसका टुक्रा छन्, कतै च्यातिएका त्रिपाल, कतै पुराना कपडा र भाँडाकुँडा। त्यही बस्तीबाट विस्थापित भएका ६४ वर्षीय लिम्बू आफ्नो परिवार सहित बनेपास्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका छन् ।

संघर्ष र अभावबाट जीवन उनेका लिम्बुको जीवन कुनै साधारण कथा होइन। पूर्व सुनसरी जिल्लाबाट उनी २०४७ सालतिर पोखरा पुगेका थिए। गाउँमा कामको अभाव हुँदा परिवार पाल्न कठिन हुँदै गएको गएको उनी बताउछन् ।

गाउँमा जीवन धान्न गारो भएपछी उनी पोखरा हानिए । त्यहाँ उनले करिब दश वर्ष बिताए। त्यो समय उनले कुलीको काम गरे। भारी बोक्ने, बजारमा सामान ओसार्ने, दिनभर पसिना बगाउने काम।

अहिले उनको चार जनाको परिवार छ। एकजना छोरा(सुशील लिम्बु), एकजना छोरी(नाइमा लिम्बु) र श्रीमान्/श्रीमती(सङ्गीता लिम्बु)।

सुशील अहिले १९ वर्षका भए । सुशील बानेश्वरको एउटा कलेजमा पढ्छन् र भर्खरै +२ परीक्षा दिएका छन्। तर उनी बाबुआमासँग बस्दैनन्।

सुकुमवासी बस्तीमा पढ्न उपयुक्त वातावरण नभएकाले उनी आफ्नी ठूलीआमासँग बसेर पढिरहेका छन्। परिवारको सपना छ, ‘सुशीलले राम्रो पढोस्, जीवन बदलोस्।’
लालबहादुरकी छोरी नाइमा अझै बोल्न सक्दिनन्, तर उनका आँखाले बुबाको माया, संघर्ष र विश्वास सबै व्यक्त गर्छन्।

२०७९ सालमा लालबहादुरले शान्तिनगरमा बसोबासका लागि आवश्यक कागजी प्रक्रिया पूरा गरे। अब सायद जीवन अलि सुरक्षित होला भन्ने लागेको थियो। तर १२ वैशाखमा उनको त्यो सपना तुहियो।

सुकुमवासी बस्ती खाली गर्न भनेर सरकारले तीन दिनको समयसिमा तोक्यो। तीन दिन पनि बित्न नपाउदै सरकार डोजर लगेर घर आँगनमा पुगेपछि अहिले सुकुमवासी बस्तीका करिब ‘हामीलाई कम्तीमा ३५ दिनको समय दिएको भए, आफैं सफा गरेर, अर्को ठाउँ खोजेर बिस्तारै सर्थ्यौं। तीन दिनमा कहाँ जाने ? कसरी जाने ? मेरी छोरी चार वर्षमा हिँड्न सिकेकी हो, उसलाई तीन दिनमा कहाँ लैजाने ?’ उनी भक्कानिँदै भन्छन्।

तर विडम्बना उनको प्रश्नको उत्तर अहिले कसैसँग छैन।

सोइ ढोले सोइ, बालेन सरकार खोइ ?

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले अवरोधबीच सदनको कारबाही अघि बढाएपछि सदनमा नाराबाजी भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को उपस्थिति र जवाफ खोज्दै विपक्षीले सदन अवरुद्ध गरेका छन्।

सभामुख अर्यालले पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलका लागि रास्वपा सांसद अशोक चौधरीलाई समय दिए।

त्यस क्रममा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले ‘सोइ ढोले सोइ, बालेन सरकार खोइ’ भन्दै नारा लगाएका थिए।

कांग्रेसको प्रश्न :प्रतिपक्षको अवरोधबीच विधेयक पास गरेर किन बहुमतको दम्भ देखाउनुभयो?

काठमाडौं । विपक्षी दलले प्रधानमन्त्री खोज्दै आज पनि सदनमा विरोध जनाएका छन्।

आकस्मिक, शून्य र विशेष समयपछि सभामुखले कार्यसूची अगाडि बढाउन खोजेपछि विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका हुन्।

विपक्षीले उठेर विरोध जनाएपछि सभामुखले कांग्रेसकी प्रमुख सचेतक बासना थापालाई बोल्न दिए। उनले पछिल्लो समय सरकारको कार्यशैलीले गम्भीर प्रश्न उब्जाएको बताइन्।

उनले भनिन्, ‘संसद् केवल संख्याको खेल होइन, यो विचार–विमर्श,उत्तरदायित्व र सहमतिका आधारमा चल्ने सर्वोच्च लोकतान्त्रिक थलो पनि हो। तर दुर्भाग्यवश, सरकार बहुमतको दम्भमा संसद्को गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको छ। प्रतिपक्षको अवरोधबीच विधेयकहरू पास गर्दा किन बहुमतको दम्भ देखाउनुभयो?’

प्रधानमन्त्री र सरकारका कारण संसदीय समितिहरू प्रभावकारी रूपमा काम गर्न नसकेको उनको भनाइ थियो।

उनले थपिन्, ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रतिपक्षको माग र जनचासोका विषयलाई बेवास्ता गर्दै सञ्चालन गर्नु संसदीय मर्यादाको अभ्यास होइन। आज यी सबै घटनाले लोकतन्त्रको आत्मामाथि नै प्रश्न उठिरहेको छ। बहुमत सरकार चलाउने आधार हुन सक्छ, तर लोकतन्त्र चलाउने आधार होइन।’

‘लोकतन्त्रको चिरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो?’ – एमाले

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई छल्न खोजेको विपक्षी नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले आरोप लगाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाह संसदलाई ‘रेस्पोन्स’ नगरी खोपीको देउता बन्न खोजेको बताए।

‘सत्तापक्ष र सरकारलाई सोध्न चाहन्छु,खोपीको देउता बनाउँदै घण्टी हल्लाएर पूजा गर्दै हो? लोकतन्त्रको चिरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो?’ उनले भने।

प्रधानमन्त्री नआएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने उनको भनाइ थियो। उनले समाजका सामाजिक, आर्थिक नीति तथा सीमासम्बन्धी विषयमा पनि प्रश्न उठाए।

‘झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको सरकार र यसको प्रमुख संसदसँग किन तर्सिरहेको छ? संसदसँग किन टाढा भइरहेको छ र यसलाई छल्न खोजिरहेको छ? आज आम नेपाली जनता र हामी माननीयहरूको साझा प्रश्न हो,’ महरले भने।

आफूलाई जन्म दिने संसदलाई नै अनादर गरिएको उनको आरोप थियो। महरले संविधानको धारा ७६ को उपधारा १० र धारा ८१ को उल्लंघन सरकारबाट भइरहेको पनि बताए।

डोजर त्रासका कारण हृदयघातले मृत्यु भएको भन्दै सांसद यादवको ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभा सदस्य रेखाकुमारी यादव ले महोत्तरीको गौशाला नगरपालिका–५ मा बस्ती हटाउने नाममा देखाइएको डोजरको त्रासका कारण एक स्थानीयवासीको मृत्यु भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले लगातार घर भत्काइने, बस्तीमा डोजर चलाइने सूचना फैलिँदा स्थानीयवासी अत्यधिक मानसिक तनावमा परेको बताइन् ।

उनका अनुसार सोही तनावका कारण ६२ वर्षीय विनोद साह हृदयघातको शिकार भई मृत्यु भएको हो ।

सांसद यादवले डोजर चल्ने हल्ला र प्रशासनिक दबाबका कारण साह गम्भीर तनावमा पुगेको दाबी गर्दै उपचारका क्रममा उनको निधन भएको संसदलाई जानकारी दिइन् । उनले भूमिहीन, सुकुम्बासी तथा गरिब नागरिकमाथि मानवीय संवेदनाविपरीत व्यवहार भइरहेको आरोपसमेत लगाइन् ।

उनले विकासका नाममा नागरिकलाई त्रसित बनाउने, बस्ती हटाउने तथा अमानवीय व्यवहार गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरिन् । साथै घटनाबारे सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई राहत तथा न्याय सुनिश्चित गर्न पनि उनले आग्रह गरिन् ।

प्रधानमन्त्री बालेनले गरे इयुका राजदूत तथा प्रतिनिधिसँग छलफल(तस्बीरहरु)

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले युरोपेली सङ्घ (इयू)  मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग आज संयुक्त भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गरेका हुन् ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित थियो ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेट र संवाद गरेका थिए ।

हर्क साम्पाङलाई ‘श्रम पिता’ भन्दै,ब्यानरमा तस्बिर अनिवार्य राख्न निर्देशन

काठमाडौं । श्रम संस्कृति पार्टीले पार्टीका सबै कार्यक्रममा अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ ।

पार्टीका कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाले पार्टी मातहतका सबै समितिलाई यस्तो निर्देशन दिएका हुन् ।

जारी पत्रमा पार्टीका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोलस्तरमा आयोजना हुने कार्यक्रमका ब्यानर तथा प्रचार सामग्रीमा अध्यक्ष साम्पाङको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्न भनिएको छ ।

पत्रमा भनिएको छ, ‘श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामाग्रीहरूमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्नु, गराउनुपर्ने अनुरोध गर्दछौँ।’

पत्रमा अध्यक्ष साम्पाङलाई ‘श्रम पिता’ का रूपमा उल्लेख गरिएको छ । पार्टीको निर्देशनसँगै अब सबै तहका कार्यक्रमहरूमा अध्यक्षको तस्बिर प्रयोग अनिवार्य हुने स्पष्ट गरिएको छ ।

दुर्गा प्रसाईँ रिहा

पर्सा । दुर्गा प्रसाईँलाई पर्सा जिल्ला अदालत ले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश गायत्रीप्रसाद रेग्मी को इजलासले मंगलबार बयानपछि प्रसाईँलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

आफ्नो अभियानका क्रममा पर्सा पुगेका प्रसाईँलाई गत जेठ ४ गते वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको थियो ।

प्रसाईँमाथि सेना, प्रहरी तथा प्रधानमन्त्रीलगायत राज्यका निकाय र विभिन्न सार्वजनिक व्यक्तित्वबारे होच्याएर टिप्पणी गरेको आरोप लागेको छ ।

केही दिनअघि एक युट्युब अन्तर्वार्तामा उनले बालेन्द्र शाह, रवि लामिछाने, कुलमान घिसिङ र हर्क साम्पाङ लाई एउटै समूहले अघि बढाइरहेको दाबी गरेका थिए ।

त्यसैगरी, हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको पक्षमा बालेन्द्र शाह उभिए आफूले उनको तस्बिर घरमा राख्ने अभिव्यक्ति पनि प्रसाईँले दिएका थिए ।

दुई दिने सार्वजनिक बिदा हटाउन रास्वपा सांसद बुढाथोकीको माग

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले शनिबार र आइतबार बिदा दिने सरकारी निर्णय तत्काल पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा दुई दिने सार्वजनिक बिदाले प्रत्यक्ष असर पारेको भन्दै उक्त निर्णय फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद बुढाथोकीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको साप्ताहिक दुई दिने बिदा व्यवहारिक नभएको भन्दै व्यापक गुनासो आएको बताए ।

उनले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको हप्तामा दुई दिनको बिदा व्यवहारिक नभएको व्यापक गुनासो प्राप्त भएको छ । यसले विद्यार्थी बरालिने र पाठ्यक्रम पूरा गर्न समस्या सिर्जना गरेको छ । साथै, दुई दिनको बिदाका कारण नागरिकहरू आकस्मिक स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ । शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा यो व्यवस्था तत्काल पुनर्विचार गर्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु,’

उनले थप्दै भने, ‘गाउँका विद्यालयहरूमा विद्यार्थी संख्या अत्यन्त न्यून हुँदा प्रति विद्यार्थी लागत बढिरहेको छ । विद्यालयहरू समायोजन गरी आवासीय विद्यालय बनाउँदा शिक्षाको गुणस्तरमा सुधार हुने देखिन्छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’

उनका अनुसार दुई दिने बिदाका कारण पठनपाठन प्रभावित हुनुका साथै आकस्मिक स्वास्थ्य सेवामा समेत समस्या देखिएको छ ।

साथै, उनले ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्यार्थी संख्या कम हुँदा प्रति विद्यार्थी लागत बढिरहेको उल्लेख गर्दै विद्यालय समायोजन गरी आवासीय विद्यालय मोडेल अपनाउनुपर्ने सुझाव पनि दिएका छन् ।