`

नाई भन्दाभन्दै कसैले जबरजस्ती गर्न खोज्छ भने त्यो सजायको भागिदार बन्नुपर्छ

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर ढुङ्‍गानाले साक्षी परीक्षणपछि कानुन निर्माण गरिने स्थापित मान्यता भएको बताएका छन् ।

‘प्राईमा फेसी’ नाटक हेरेपछि महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले  आयोजना गरेको प्यानल डिस्कसनमा सचिव ढुङ्‍गानाले भने, ‘यौन हिंसा कानुन पीडित मैत्री हुनुपर्छ, यो कानुनबारे जनचेतना फैलाउन सामाजिक अभियान्ता संवेदनशील बन्नुपर्छ ।’

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहण गरेसँगै जबरजस्ती करणी, करणीपछि हुने हत्या, यौनजन्य हिंसा तथा बालबालिका सम्बन्धी जघन्य कसुरमा संलग्न दोषीलाई कडा सजाय सुनिश्चित गर्न तथा पीडितलाई शीघ्र न्याय दिलाउन विद्यमान कानुनमा देखिएका अवरोध हटाउने प्रक्रिया अघि बढाउने निर्णय गरेकी थिइन्।

जबरजस्ती करणी र जबरजस्ती करणी पश्चात् हुने हत्याजस्ता जघन्य कसूर, यौनजन्य हिंसा तथा बालबालिका विरुद्ध हुने कसूरमा संलग्न कसूरदारलाई दण्ड सजाय र पीडितलाई शीघ्र न्याय प्रदान गर्नको लागि मुलुकी अपराध संहिता लगायतका कानूनहरूमा देखिएका अवरोध पहिचान गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा अध्ययन कार्यदल गठन भएको छ ।

यसै शिलशिलामा यौन हिंसा कस्तोसम्म हुँदो रहेछ भन्ने कुरा प्रस्तुत नाटक ‘प्राईमा फेसी’ मा देखाइएको छ । सुजिओ मिलरले लेखेको उक्त नाटकमा पशुपति राईको सशक्त अभिनय रहेको छ । दुई घन्टा लामो उक्त नाटकको अनुवाद दुर्गा कार्कीले गरेकी हुन् भने आकांक्षा कार्कीको निर्देशन रहेको थियो ।

कौसी थिएटरमा देखाइएको नाटकमा प्रसिद्ध विश्वविद्यालयमा कानुन अध्ययन गरेकी प्रिजा कुशल वकिल हुन् । महिला हिंसासम्बन्धी वकालत गरिरहेकी प्रिजा आफ्नै साथीबाट हिंसाको शिकार बन्छिन्, त्यसपछि पीडित प्रिजालाई प्रहरी, न्यायालय, घर परिवार र समाजले कस्तो व्यवहार गर्छ भन्ने कुरा नाटकमा सशक्त ढंगले देखाइएको छ ।

नाटक सम्पन्न भएपछि एफडब्लुएलडीकी अधिवक्ता रोजिना श्रेष्ठले सञ्चालन गरेको प्यानल डिस्कसनमा सहमहान्यायाधिवक्ता बिना दाहालले नाटक हेरेपछि डेढ दर्जनभन्दा बढी यौन हिंसाका घटनाहरु मानसपटलमा ताजा बनेर आएको अनुभव सेयर गरेकी थिइन् । प्रत्येक हिंसाको प्रकृति फरक हुने भएकाले यौन हिंसाको कानुन निर्माणमा समाज नै संवेदनशील हुन जरुरी रहेको बताइन् ।

प्रस्तुत नाटकसँग मिल्दाजुल्दा धेरै पीडितलाई आफूले सहयोग गर्ने प्रयास गर्दागर्दै पनि परिस्थितिले गर्दा पीडितलाई सहयोग र दोषीलाई सजाय दिलाउन नसकिएको उनको अनुभव थियो । अब बन्ने कानुनले यी सबै कुरा समेट्न प्रयास गर्ने उनले बताइन् ।

कानूनहरूमा देखिएका अवरोध पहिचान गर्न बनेकाे अध्ययन कार्यदलका सदस्य एवम् वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले प्यानल डिस्कसनमा यौन हिंसाको मुद्दामा जिल्लादेखि सर्वोच्च अदालतसम्मका आफ्ना अनुभवहरु सुनाएकी थिइन् ।

आफू पीडित भएको महसुस गरेर कानुनमा सुधार गर्नुपर्ने उनको भनाई थियो । उनले कानुनमा अझै धेरै सुधार गर्नुपर्ने आवश्यकता औल्याइन् ।

एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले आफूले इच्छा नगरेको काममा हुँदैन ‘नो’ भन्न सक्नुपर्ने बताए । इच्छाविपरित कसैले केही गर्न खोज्छ भने त्यो हिंसा हो, निर्देशक श्रेष्ठले भने, ‘त्यस्ता इच्छाविपरितका कार्यलाई नाई भन्न सक्नुपर्छ । नाई अर्थात् ‘नो’ भन्दाभन्दै कसैले जबरजस्ती गर्न खोज्छ भने त्यो सजायको भागिदार बन्नुपर्छ ।’

एफडब्लुएलडीकै अधिवक्ता सागर पाठकले कानुनी सहायता कक्ष र भएका कानुन कार्यान्वयनमा जोड दिए । त्यसैगरी प्यानल डिस्कसनमा सहभागीहरु डा. विष्णु बस्याल, करुणा पराजुली, लुमा सिं विश्वकर्मा, अरुणा जाेशी लगायतले विद्यमान कानुनमा देखिएका अवरोध हटाउने प्रक्रिया अघि बढाउदा ध्यान दिनुपर्ने महत्वपूर्ण सुझावहरु दिएका थिए ।

कानून,न्याय तथा मानवअधिकार समितिको बैठक (तस्वीरहरु)

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठक आज बसेको छ ।

बैठकमा मुलुकको समसामयिक कानुनी विषय, न्याय प्रशासनसँग सम्बन्धित समस्या तथा मानवअधिकारका विविध पक्षबारे छलफल भएको हो।

बालेनको दाहिने हात मानिने भुपदेवलाई महामन्त्री बनाउने तयारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि बढाउने तयारी गरिएको हो।

स्रोतका अनुसार,शाहलाई महामन्त्रीको रूपमा बैठकमा प्रस्ताव पेश हुने कार्यसूची रहेको छ।  सम्भवत: त्यो सोमबार कै बैठकले पारित पनि गर्नेछ।

तत्कालिन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा रहेका थिए ।

यसअघि भएको सहमति अनुसार महामन्त्रीमा सुनिल लम्साल थिए भने भूपदेव सहमहामन्त्री रहेका थिए । लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालेपछि भूपदेवलाई पार्टीको महामन्त्री बनाउने तयारी गरिएको स्रोतले बताएको छ ।

प्रमुख स्वकीय सचिवका रूपमा काम गरेका उनी बालेनका निकट पात्र मानिन्छन् । रास्वपासँग एकीकरण प्रक्रियाका क्रममा उनी पार्टीको केन्द्रीय सदस्य बनेका थिए ।

पछिल्लो पटक फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । तर उनी निर्वाचनमा पराजित भएका थिए ।

गृहमन्त्री सुधन गुरुङको पारा : सुशासनको नारा, बिचौलियासँग व्यापार ! पद धरापमा

काठमाडौं । केही दिनअघि ‘बिचौलिया’को आरोपमा पक्राउ परेका दीपक भट्टसँग एक लघु बीमा कम्पनीमा शेयर साझेदारी रहेको तथ्य बाहिरिएपछि गृहमन्त्री सुधन गुरुङकाे पद धरापमा परेकाे छ ।

उनीमाथि राजीनामाकाे दबाब यति बढेकाे छ कि उनी आफैँले अनुसन्धानका लागि मार्गप्रशस्त गर्ने भनिसकेका छन् । 

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका भट्ट समूहसँग सम्बन्धित कम्पनीमा गृहमन्त्री स्वयंको लगानी रहेको देखिनु सामान्य घटना हुँदै होइन। सुशासनको नारा दिएर गृहमन्त्री बनेका गुरुङ बिचौलियासँग व्यापारिक साझेदार कसरी बने ? यसले सुशासन, पारदर्शिता र नैतिक जिम्मेवारीबारे गम्भीर प्रश्न सिर्जना गरेको छ।

२०७९ सालमा नेपाल बीमा प्राधिकरणले सातवटा लघु बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो। यी लाइसेन्सहरू प्रतिस्पर्धाबाट होइन, प्रभाव र पहुँचका आधारमा वितरण गरिएका थिए।

दीपक भट्टको प्रभावमा शंकर समूह, इन्फिनिटी होल्डिङ, शेखर गोल्छा, भवानी राणा, पशुपति मुरारका, हरि न्यौपाने, किशनलाल दुगड, आरएमसी जस्तापाता समूहका राजेश अग्रवाललगायत व्यवसायीलाई लाभ पुग्नेगरी लाइसेन्स बाँडिएको थियाे । यिनै कम्पनीहरूमध्ये ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’ पनि एक हो, जसमा भट्टसँग जोडिएको शंकर समूहको स्वामित्व रहेको जगदम्बा इन्टरप्राइजेजमार्फत गृहमन्त्री गुरुङको २५ लाख रुपैयाँ बराबरको शेयर देखिएको छ।

केही दिनअघि सार्वजनिक गरेको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरणमा गृहमन्त्री गुरुङले उक्त शेयर साझेदारी खुलाएका छैनन्। 

सार्वजनिक विवरणअनुसार उनी मन्त्रिमण्डलका सबैभन्दा धनी सदस्यका रूपमा देखिन्छन्।  जहाँ उनको २४१ रोपनीभन्दा बढी जग्गा, करिब ९० तोला सुनचाँदी तथा हिरा, ६१ लाख रुपैयाँ बैंक मौज्दात र ४ करोडभन्दा बढीको शेयर लगानी। तर, यति ठूलो सम्पत्ति विवरण सार्वजनिक गर्दा पनि भट्टसँगको यो साझेदारी किन लुकाइयो? यसले गृहमन्त्रीको घोषित सम्पत्तिभन्दा अघोषित सम्पत्ति कति छ भन्ने अर्को प्रश्न पनि जन्माएको छ। 

सरकारले देशभर सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने अभियान चलाइरहेको छ। फेवाताल आसपासका संरचनाहरू पनि सो सूचीमा परेका थिए। सोही क्षेत्रमा गृहमन्त्री गुरुङको जग्गा रहेको चर्चा चलेपछि उनले त्यसलाई ‘भाडामा लिएको’ भन्दै स्पष्टीकरण दिएका थिए। त्यो विवाद केही समयमै सामसुम पारिए पनि सम्पत्ति विवरण सार्वजनिक भएपछि पुनः उनी आलोचनाको घेरामा परे। त्यसको केही दिनमै लुकाइएको शेयर साझेदारी बाहिरिएपछि स्थिति झनै पेचिलो बनेको छ।

भट्टसँगको व्यापारिक साझेदारीको प्रकरण बाहिरिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीभित्रैबाट गृहमन्त्री गुरुङमाथि राजीनामाको दबाब बढ्न थालेको बताइएको छ । यही कारण उनले रातारात पार्टी सभापति रवि लामिछानेलाई भेटका छन् । 

रास्वपाले केही दिनअघि मात्रै विवादमा मुछिएका तत्कालीन श्रममन्त्री दीपक शाहलाई ‘राइट टु रिकल’ को नाममा पदबाट फिर्ता बोलाएको थियो। आफ्नै श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्ति दिएको आरोपमा उनलाई हटाइएको थियो। अब के त्यही मापदण्ड गृहमन्त्री गुरुङमाथि लागू हुन्छ? रास्वपाले आफै व्याख्या गरेको राइट टु रिकल गृहमन्त्रीको हकमा लागु हुँदैन ?

गृहमन्त्री गुरुङको लगानी बिचौलियासँग सम्बन्धित कम्पनीहरूमा देखिनु गम्भीर विषय हो। उनले नेतृत्व गरेको ‘हामी नेपाल’ नामक संस्थामा शंकर समूह सबैभन्दा ठूलो दाताका रूपमा देखिएको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ। विवाद बढ्दै गएपछि साेमबार बिहानैदेखि ‘हामी नेपाल’ काे वेभसाइट नखुल्ने बनाइएकाे छ र अहिले सोही समूह र भट्ट समूह जोडिएको कम्पनीमा उनको शेयर देखिएपछि  झनै ठुलो नैतिक संकटमा फसेका छन्। 

सम्पत्ति शुद्धीकरणको आरोपमा थुनामा रहेका व्यक्तिसँग गृहमन्त्रीको आर्थिक साझेदारी हुनु नैतिक रूपमा अस्वीकार्य मानिन्छ। व्यवसायमा लगानी गर्नु अपराध होइन, तर जब राज्यको कानुन कार्यान्वयन गर्ने निकायको प्रमुख नै विवादित समूहसँग आर्थिक रूपमा जोडिन्छ, त्यहाँ स्वार्थको द्वन्द्व उत्पन्न हुन्छ। 

अर्कोतर्फ, कानुनी हदभन्दा बाहिरको जग्गा स्वामित्व र स्रोत नखुलेको ठूलो परिमाणको लगानीले गृहमन्त्रीले उठाउने ‘सुशासन’को नारा नै कमजोर बनाएको छ। यसले जेनजी आन्दोलनको मूल उद्देश्यलाई नै प्रश्नको घेरामा ल्याएको छ। युवाहरूले बिचौलिया र सीमित स्वार्थ समूहको प्रभाव अन्त्य गर्न बलिदान दिएका थिए। तर, त्यही आन्दोलनबाट आएका नेताहरू नै त्यही संरचनासँग जोडिएको देखिनु विडम्बनापूर्ण छ।

गत चैत १४ गते गृहमन्त्री गुरुङकै आदेशमा एमाले अध्यक्ष केपी ओली र काङ्ग्रेस नेता रमेश लेखकलाई गृहमन्त्री बनेकै रात शनिबार हतारोमा पक्राउ गरियो। अनावश्यक जरुरी पक्राउ पुर्जीको आधारमा नियन्त्रणमा लिइएकाे थियाे ।  त्यसपछि सरकारले पक्राउको शृंखला नै चलायो।  बिना पक्राउ पुर्जी/बिना जाहेरी थुप्रै मान्छे पक्राउ परे। अर्कोतिर, महिला/दिदीबहिनीहरु साइबर बुलिङको सिकार बनिरहेका थिए। ती घटनामा भने सरकार मौन देखियो।दिनदहाडै देशैभर हत्याका शृंखलाहरु चलिरहेका छन्।  त्यसमा गृहमन्त्रीले यति विकेट डाउन भन्दै कुनै सामाजिक सञ्जालमा कुनै जानकारी दिदैनन्।  तर नेताहरु तथा व्यापारीहरुलाई हतारोमा पक्राउ गरेर १० विकेट पुग्यो भन्दै गृहमन्त्रीले स्टन्ट गरी बसे। उनले १० विकेट भनेर पक्राउ गरेका आधा भन्दा बढी मान्छेहरु रिहा भइसकेका छन्।

अहिले गुरुङ आफै प्रश्नको घेरामा छन्। मनलागेको बेला मन लागेको मान्छेलाई पक्राउ गरेर थुनामा पुर्याउने उनले आफूमाथि उठेका प्रश्न बारे के भन्लान् ? कसरी जवाफ देलान् ? 

प्रमाण नपुग्दै पक्राउ गर्ने र केही दिनमै छोड्ने प्रवृत्तिले कानुनी शासनमाथि प्रश्न उठाउँछ। यसले अपराधीलाई झनै बलियो त बनाउछ नै अर्कोतिर राज्यप्रतिको विश्वास र संयन्त्रलाई कमजोर बनाउदै लैजाने जोखिम हुन्छ। तर गुरुङ हलिवुड चलचित्रको स्पाइडर म्यान जसरी हावामा उड्न खोजीरहेका देखिन्छन्। जब मन्त्री स्वयं ‘सुपर कोप’ बन्न खोज्छन्, त्यहाँ प्रणाली नै संस्थागत रुपमा ध्वस्त बन्दै जान्छ ।

गृह मन्त्रालय केवल प्रचार गर्ने थलो होइन। यो राष्ट्रिय सुरक्षा, गुप्तचर संयन्त्र, सीमा व्यवस्थापन र आन्तरिक शान्तिसँग प्रत्यक्ष जोडिएको निकाय हो। यस्तो संवेदनशील मन्त्रालय सञ्चालन गर्न गम्भीरता, संस्थागत समझ र नीतिगत स्थिरता आवश्यक हुन्छ। तर, वर्तमान कार्यशैली हेर्दा गृहमन्त्री प्रहरी संयन्त्रलाई सुदृढ बनाउनेभन्दा पनि व्यक्तिगत प्रभाव प्रदर्शनमा बढी केन्द्रित देखिन्छन्। उटपट्याङ र पदीय मर्यादाविपरीतका गतिविधि गरिरहेकाे टिप्पणी भइरहेकाे छ ।

उनले जेनजी पुस्ताले उठाएको आन्दोलनको मर्मसँग खेल खेलिरहेकाे भन्दै विराेध पनि भइरहेकाे छ । भदौ २३ गते जेनजी आन्दाेलन भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा थियो। त्यही आन्दोलनबाट उदाएको दाबी गर्ने सुधन गुरुङ सरकारमा गएको एक महिनामा प्रश्नै प्रश्नको जालोमा कसरी बेरिन सक्छ ?

आन्दोलनका क्रममा उनले आफूलाई ‘पानी बाँड्न आएको सामान्य व्यक्ति’को रूपमा प्रस्तुत गरेका थिए। तर, आज उनी देशको गृहमन्त्री छन्। भदौ २४ को घटनापछि उनले जेनजीका तर्फबाट नेपाली सेनासँग वार्ता अगाडि बढाए, जसले उनलाई राष्ट्रियस्तरमै चिनायो। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनमा उनले भूमिका खेले। यही सिलसिलामा उनले रवि लामिछाने र बालेन शाहबीच समन्वय गराउँदै नयाँ राजनीतिक समीकरण निर्माण गरे। 

त्यसैको परिणामस्वरूप रास्वपा फागुन २१ गतेको निर्वाचनमा होमियो। गुरुङ गोरखा-१ बाट निर्वाचित भए। हाल बालेन शाह नेतृत्वको सरकारमा उनी गृहमन्त्री छन्। तर, सत्तामा पुगेपछि देखिएको उनको कार्यशैली दिन प्रतिदिन विवादरहित बनिरहेको छ । 

आजको सन्दर्भमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको पारदर्शिता र जवाफदेहिता हो। सार्वजनिक पदमा बसेको व्यक्तिले आफूविरुद्ध उठेका प्रश्नहरूबाट पन्छिन मिल्दैन। 

के बालेन-रविले हटाउलान् गृहमन्त्री गुरुङलाई ? (भिडियो)

काठमाडौं।  जेन-जी विद्रोहमा पानी बाँडेर एकैपटक राष्ट्रिय राजनीतिमा उदाएका गृहमन्त्री सुधन गुरुङ ‘उम्लियो र पोखियो’ को स्थितिमा पुगेका छन् । उनलाई गृहमन्त्रीबाट हटाउने प्रधानमन्त्री बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेपछि चौतर्फी दबाब बढेको छ ।

यसअघि बीमा बोर्डको सदस्यमा श्रीमतीको पुनःनियुक्ति आरोपपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक शाहलाई हटाइएको थियो । अब पालो गृहमन्त्री सुधन गुरुङको देखिएको छ । सुशासन, पारदर्शीता र भ्रष्टाचार अन्त्यको मागसहित भएको जेन–जी विद्रोह र गत २१ फागुनमा भएको निर्वाचनको जनादेश अनुसार गठित बालेन सरकारका गृहमन्त्री गुरुङ सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा रहेका विवादास्पद व्यापारी दीपक भट्ट र व्यापारी घराना शंकर ग्रुप लगायतसँग बिजनेस पार्टनर भएको विषय बाहिरिएको थियो।

प्रमाण नै सार्वजनिक भएपछि उनी चुपचाप छन् । सोमबार बिहानै उनलाई हटाउनेबारे महामन्त्री कविन्द्र बुर्लाकोटी र अनुशासन आयोगका कार्यवाहक अध्यक्ष रमाकान्त रिमालबीच छलफल भएको थियो । स्रोतको दाबीमा गृहमन्त्री गुरुङलाई हटाउनेबारे सोमबारको सचिवालय बैठकमा छलफल हुने छ ।

विगतमा गुरुङ भ्रष्टाचारीहरू कसैलाई नछाड्ने भन्थे तर उनी आफैं बिचौलियाको साझेदार रहेको खुलेको हो । स्रोत स्पष्ट नभएका उनको अकुत सम्पत्ति हालै सार्वजनिक भएको थियो । यसअघि उनले चढेको रातो गाडी अर्कै व्यापारीको रहेको खुलेको थियो ।

बुन्डेसलिगाको उपाधि बायर्नलाई

काठमाडौं । बायर्न म्युनिख ले जर्मनीको शीर्ष डिभिजन बुन्डेसलिगा को उपाधि जितेको छ। गएराति सम्पन्न खेलमा स्टुटगार्ट लाई ४-२ ले पराजित गर्दै बायर्नले आफ्नो ३५औँ लिग उपाधि सुनिश्चित गरेको हो।

आलियान्ज एरिना मा भएको खेलमा सुरुआत भने स्टुटगार्टको पक्षमा रह्यो। खेलको २१औँ मिनेटमा क्रिस फ्युरिख ले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। तर त्यसपछि बायर्नले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो नियन्त्रणमा लियो।

राफायल गुएरेरो ले बराबरी गोल फर्काएपछि निकोलस ज्याक्सन ले टोलीलाई अग्रता दिलाए। पहिलो हाफमै अल्फोन्सो डेभिस ले अर्को गोल थप्दै बायर्नलाई ३-१ को अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा ह्यारी केन ले आफ्नो सिजनको ३२औँ गोल गर्दै अग्रता ४-१ मा पुर्‍याए। खेलको अन्त्यतिर चेमा आन्द्रेस ले एक सान्त्वना गोल फर्काए पनि त्यसले खेलको नतिजा बदल्न सकेन।

यस जितसँगै बायर्नले पछिल्ला १४ सिजनमध्ये १३औँ पटक लिग उपाधि जित्ने उपलब्धि हासिल गरेको छ। यस सिजन टोलीले आक्रामक खेल प्रदर्शन गर्दै हालसम्म १०९ गोल गरेको छ भने केवल २९ गोल मात्र बेहोरेको छ।

टोलीका लागि केन, माइकल ओलिसे र लुइस डियाज ले संयुक्त रूपमा ५९ गोल गर्दै बायर्नको आक्रमणलाई अत्यन्त बलियो बनाएका छन्।

यो जितसँगै बायर्नको ‘ट्रेबल’ (तीन उपाधि) जित्ने सम्भावना पनि जीवितै छ। अब उसले जर्मन कपमा बायर लेभरकुसेन र पेरिस सेन्ट जर्मेन विरुद्ध च्याम्पियन्स लिगको सेमिफाइनल खेल खेल्नेछ।

आयल निगम घेर्न पुगेका जेनजी र प्रहरीबीच धक्कामुक्की (तस्वीरहरु)

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन माग गर्दै प्रदर्शन गर्न नेपाल आयल निगम गएका राष्ट्रिय जेनजी नागरिक अभियानका सदस्यलाई प्रहरीले हटाएको छ । सोमबार उनीहरूलाई प्रहरीले हटाएको हो ।

उनीहरूलाई प्रहरीले आयल निगम परिसरबाट हटाएर बबरमहल चोकमा राखेको थियो ।

तस्वीरहरु:

चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा दोहोरिए बलामी

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा आगामी तीन वर्षका लागि समीर बलामी पुनः निर्वाचित भएका छन्। यसअघि पनि अध्यक्षको जिम्मेवारी सम्हालिसकेका बलामी काठमाडौँमा सम्पन्न संघको १०औँ महाधिवेशनबाट शनिबार मध्यरातमा नयाँ कार्यसमितिसहित चयन भएका हुन्।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष (संगठन)मा रघुनाथ सापकोटा, उपाध्यक्ष (कार्यक्रम)मा कुमार आचार्य र उपाध्यक्ष (महिला)मा दिपज्योति थापा चयन भएका छन्। महासचिवमा गोपीकृष्ण चापागाईँ निर्वाचित हुँदा सचिवमा मदन रिजाल र समावेशी सचिवमा मोहम्मद जालिम चयन भएका छन्। त्यस्तै, कोषाध्यक्षमा मनिष अन्जान र सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भएका छन्।

महाधिवेशनबाट संघको केन्द्रीय कार्यसमिति सदस्यमा सुशील नेपाल, दिनेश थापा, नवीन चापागाईँ, सोजना विक लोहार, रतनबहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री र सालिकराम न्यौपाने चयन भएका छन्।

गृहमन्त्री गुरुङमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं। गृहमन्त्री सुदन गुरुङमाथि उठेका प्रश्नहरूको छानबिन गर्न नेपाली कांग्रेसले माग गरेको छ। प्रतिपक्षी दल कांग्रेसले सोमबार विज्ञप्ति जारी गर्दै उक्त प्रकरणको निष्पक्ष निराकरण आवश्यक रहेको जनाएको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा गृहमन्त्री गुरुङको साझेदारी रहेको भन्दै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि विवाद चुलिएको छ। यद्यपि, गृहमन्त्रीले हालसम्म यस विषयमा सार्वजनिक रूपमा कुनै स्पष्ट प्रतिक्रिया दिएका छैनन्।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा यो विषय राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न भएको उल्लेख गरिएको छ। पदमा रहँदा अनुसन्धान प्रक्रियामा प्रभाव पर्ने आशंका रहने भएकाले स्वतन्त्र छानबिन आवश्यक रहेको कांग्रेसको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ’, विज्ञप्तिमा भनिएको छ,‘अतः नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्।’

कांग्रेसले अनुसन्धानलाई प्रभावरहित बनाउन सम्बन्धित पदमा रहेकै अवस्थामा छानबिन अघि बढाउनुपर्नेमा जोड दिएको छ।

के तपाईलाई थाहा छ ? व्हाट्सएपले ल्यायो एआई ब्याकग्राउन्ड सुविधा

काठमाडौं। ‘व्हाट्सएप’ ले भिडियो कल अनुभवलाई अझ उन्नत र व्यक्तिगत बनाउन ‘एआई जेनेरेटेड ब्याकग्राउन्ड’ प्रयोग गर्ने नयाँ सुविधा सार्वजनिक गरेको छ । यस सुविधाले प्रयोगकर्तालाई भिडियो कलका क्रममा आफ्नो पृष्ठभूमि परिवर्तन गर्न तथा एआईको सहयोगमा नयाँ ब्याकग्राउन्ड सिर्जना गर्न सक्ने सुविधा प्रदान गर्छ ।

गत वर्ष सेप्टेम्बरमा सार्वजनिक गरिएको यो सुविधा मार्फत प्रयोगकर्ताले ‘जुम’ वा ‘माइक्रोसफ्ट टिम्स’ जस्तै भिडियो कलमा ब्याकग्राउन्ड परिवर्तन गर्न सक्छन् । यसले गोपनीयता कायम राख्न, वास्तविक स्थान लुकाउन र वरिपरिको ध्यान भंग गर्ने तत्व हटाउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।

यो सुविधा फिल्टर र अन्य क्रिएटिभ टुल्ससँगै थप गरिएको हो र ‘एन्ड्रोइड’ तथा ‘आईओएस’ दुवै प्रयोगकर्ताका लागि उपलब्ध छ । यसले विभिन्न स्मार्टफोन प्रयोगकर्तालाई सहज रूपमा प्रयोग गर्न सकिने वातावरण बनाएको छ ।

सुविधा प्रयोग गर्न प्रयोगकर्ताले भिडियो कल सुरु गरी वा चलिरहेको कलमा क्यामेरा बटन थिच्नुपर्ने हुन्छ । त्यसपछि ‘कल इफेक्ट्स’ विकल्पमा गएर ‘ब्याकग्राउन्ड’ चयन गर्न सकिन्छ । त्यहाँ प्रयोगकर्ताले पहिले नै उपलब्ध ब्याकग्राउन्डमध्ये छनोट गर्न सक्छन् ।

साथै एआई जेनेरेटेड ब्याकग्राउन्ड बनाउन ‘क्रिएट विथ एआई’ विकल्प प्रयोग गर्नुपर्छ । प्रयोगकर्ताले आफूले चाहेको दृश्यको विवरण लेखेपछि एआईले सोही अनुसार तस्बिर तयार गर्छ, जसलाई चयन गर्न वा पुन: नयाँ बनाउन ‘रि-जेनरेट’ विकल्प प्रयोग गर्न सकिन्छ ।

यसका साथै भिडियो कलका क्रममा ‘रिमुभ ब्याकग्राउन्ड’ विकल्पमार्फत हालको ब्याकग्राउन्ड हटाएर नयाँ सेट गर्न सकिन्छ । सबै इफेक्ट हटाउन चाहिँ ‘रिमुभ अल इफेक्ट्स’ विकल्प प्रयोग गरी कललाई सामान्य अवस्थामा फर्काउन सकिन्छ ।

मण्डलामा मञ्चन हुने नाटकलाई हलिउडबाट शुभकामना(भिडियो)

काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा नयाँ नाटक ‘ग्रान्ड रिहर्सल’ मञ्चन हुने भएको छ। यो नाटक २४ अप्रिलदेखि सुरु भई १७ मेसम्म प्रदर्शन हुने तय गरिएको छ।

उमेश तामाङको निर्देशनमा तयार भएको यो नाटक व्यंग्यप्रधान शैलीमा प्रस्तुत गरिएको हो। अनुप न्यौपाने र उमेश तामाङले नाटकको अनुवाद गरेका छन् भने बुद्धि तामाङ निर्माता रहेका छन्।

नाटकमा अनुप न्यौपाने, मिलन कार्की, सुदीप खतिवडा, रुजा राउत, रक्षा थापा, सन्तोष गिरी, अमिर ताम्राकार, सुजन घिमिरे, श्रीशेष श्रेष्ठ, बलबहादुर राई र राजाबाबु कार्की लगायत कलाकारको अभिनय रहनेछ।

कथावस्तु ‘नाटकभित्र नाटक’ संरचनामा आधारित छ। हत्या रहस्यमा आधारित नाटक मञ्चन गर्ने क्रममा कलाकारहरूले विभिन्न प्राविधिक र अभिनयसम्बन्धी समस्या सामना गर्छन्, जसले मञ्चनलाई नियन्त्रणबाहिर पुर्‍याउँछ। यिनै हास्य र अव्यवस्थाका घटनामार्फत नाटकले रंगमञ्चको वास्तविकता प्रस्तुत गर्ने प्रयास गरेको छ।

मण्डला थिएटरका सह-संस्थापक सोमनाथ खनालका अनुसार यो नाटक चर्चित ब्रडवे प्रस्तुति ‘द प्ले द्याट गोज रङ’ बाट प्रेरित भए पनि नेपाली परिवेशमा पुनःनिर्माण गरिएको हो।

यस नाटकका लागि हलिउड अभिनेता विलियम डाफोले समेत शुभकामना सन्देश दिएका छन्। चार पटक अस्कर अवार्डका लागि मनोनयनमा परेका डाफोले भिडियो सन्देशमार्फत नेपालमा नाटक मञ्चन हुन लागेकोमा उत्साह व्यक्त गर्दै दर्शकलाई मण्डला थिएटरमा गएर नाटक हेर्न आग्रह गरेका छन्।

रन्जु प्याकुरेलले छाडिन् राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ रन्जु प्याकुरेलले पार्टी छाडेकी छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई स्वेच्छाचारी ढंगले चलाएको, पार्टीलाई विघटनतिर लगेको, महाधिवेशन नगरेको जस्ता गम्भीर आरोपको सामना गरिरहँदा प्याकुरेलले पार्टी छाडेकी हुन् ।

उनी लिङ्देनकै गृहजिल्ला झापाकी नेतृ हुन् । सामाजिक सञ्जालमार्फत उनले आफूले लामो समयदेखि आबद्ध रहेको पार्टीसँगको सम्बन्ध अन्त्य गरेको जानकारी दिएकी हुन्।

प्याकुरेल राप्रपाको बिर्तामोड नगर अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी नेतृ हुन्। उनी पार्टीभित्र स्पष्ट वक्ता नेतृका रूपमा परिचित थिइन्। लामो राजनीतिक यात्राका क्रममा उनले राप्रपाबाट राष्ट्रिय सभाको निर्वाचनमा समेत उम्मेदवारी दिएकी थिइन्।

विद्यार्थी राजनीतिबाट उदाएकी प्याकुरेल प्रारम्भिक चरणमा अनेरासोवियु सँग आवद्ध थिइन्। नेकपा एमाले निकट विद्यार्थी संगठनमार्फत राजनीति सुरु गरेकी उनी पछिल्लो समय राप्रपामा सक्रिय रहँदै आएकी थिइन्।

स्थानीय तह निर्वाचनमा उनले बिर्तामोड नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी थिइन्, तर उक्त निर्वाचनमा पराजित भएकी थिइन्।

प्याकुरेलले पार्टी परित्यागको कारणबारे विस्तृत खुलासा गरेकी छैनन्। तर, उनको यस निर्णयले स्थानीय राजनीतिक वृत्तमा चर्चा उत्पन्न गरेको छ।

राप्रपाभित्रको आन्तरिक अवस्था, नीति तथा नेतृत्वप्रति असन्तुष्टि वा अन्य कुनै कारणले उनले यस्तो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ।

 

गृहमन्त्री गुरुङले खोले मुख – ‘सम्पति लुकाउने मान्छेले २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन’

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडेर उठेका विभिन्न आरोपबारे सामाजिक सञ्जालमार्फत विस्तृत स्पष्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पछिल्ला चर्चाहरूलाई ‘हल्ला र अनुमानमा आधारित’ भएको बताएका हुन्।

गुरुङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक भएको उल्लेख गर्दै २ करोडभन्दा बढी धितोपत्र बजारमा गरिएको लगानी स्पष्ट रूपमा देखाइएको दाबी गरे। ‘स्टार माइक्रो इन्स्योरेन्स’ र ‘लिबर्टी माइक्रो इन्स्योरेन्स’मा गरिएको लगानी पनि सोही विवरणभित्र समेटिएको उनले स्पष्ट पारे।

उनले लेखेका छन्, ‘ “२५ लाखको सेयर लुकाइएको” भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो। सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन।’

मन्त्री बन्नुअघि सेयर खरिद गरिएको भन्ने आरोपबारे उनले सबै कारोबार बैंकिङ च्यानलमार्फत भएको र रकम ऋण (कर्जा) मार्फत जुटाइएको बताएका छन्। २०८०/०५/२९ मितिको लिखित तमसुकअनुसार बैंकिङ प्रणालीबाट आएको रकम नै लगानीमा प्रयोग गरिएको उनको भनाइ छ।

‘ “मन्त्री हुनुअघि सेयर किनियो” भनिएको छ। यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो? सम्पूर्ण कारोबार बैँकिङ च्यानलमार्फत भएको छ। बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ? अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो, जुन रेकर्डमा नै छ। उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो।’ उनले भनेका छन्।

विवादित व्यक्तिसँग साझेदारी भएको आरोपप्रति प्रतिक्रिया दिँदै उनले सेयरहोल्डर हुनु र व्यक्तिगत रूपमा साझेदारी हुनु फरक विषय भएको बताएका छन्। एउटै कम्पनीमा हजारौँ लगानीकर्ता हुने भएकाले सबैलाई एउटै रूपमा दोष दिन नमिल्ने उनले तर्क गरेका छन्।

‘ “विवादित व्यक्तिसँग साझेदारी” भनिएको छ। एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुन्छन्। सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन। यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन। त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् त? प्रश्न सरल छ, सेयरहोल्डर हुनु अपराध हो, कि चयन गरेर आरोप लगाउनु?’

‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सम्बन्धी प्रश्नबारे उनले सम्पत्ति शुद्धिकरण विभागमार्फत प्रक्रिया चलिरहेको उल्लेख गर्दै मन्त्रालयले कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन्।

‘ “कन्फ्लिक्ट अफ इन्ट्रेस्ट” को आरोप पनि उठाइएको छ। तर यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय होइन, अर्थ मन्त्रालय अन्तर्गत रहेको सम्पत्ति शुद्धिकरण विभाग हो, र सोही निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको छ। यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन। यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन।’

साथै, कानुनी संवेदनशील विषयमा तत्काल प्रतिक्रिया दिनुभन्दा आधिकारिक प्रक्रिया कुर्नु उपयुक्त हुने भन्दै उनले आफू हल्लामा नभई प्रमाणमा विश्वास गर्ने बताएका छन्। गुरुङले अन्त्यमा आफू पार्टी र कानुनी प्रक्रियाको निर्णयलाई पूर्ण रूपमा पालना गर्न तयार रहेको र छानबिनमा आवश्यक सहयोग गर्ने बताएका छन्।

उनले भनेका छन्, ‘“पार्टीको नारा र व्यवहार फरक भयो” भन्ने टिप्पणी पनि गरिएको छ। व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन। लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्, यसलाई मिसाएर राजनीति गर्न सजिलो छ, तर सत्य त्यति सरल हुँदैन। अन्त्यमा, म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन्।’

उनले थपेका छन्, ‘निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ। तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु। सहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन।’

उनको स्टाटस:

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित, किन भयो ?

काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा दायर उच्च प्रोफाइल मुद्दाको सोमबार तय भएको सुनुवाइ स्थगित भएको छ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा पेसी तोकिएको भए पनि जिल्ला सरकारी वकिल कार्यालयको निवेदनपछि सुनुवाइ स्थगित गरिएको हो।

यो मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत उच्च पदाधिकारी तथा बिचौलियाहरूविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधसम्बन्धी अभियोग लगाइएको छ।

२०८० जेठ १० मा दायर गरिएको अभियोगपत्रमा ३० जनालाई प्रतिवादी बनाइएको छ। तीमध्ये केही पक्राउ परेका, केही धरौटीमा छुटेका र केही अझै फरार रहेको जनाइएको छ।

पक्राउ परेकामध्ये १६ जनालाई थुनामा राखेर मुद्दा चलाइएको थियो भने केही उच्च अदालतबाट धरौटी वा तारेखमा रिहा भएका छन्। हाल पनि केही अभियुक्त फरार रहेको बताइएको छ।

यस प्रकरणले नेपाली राजनीति र प्रशासन क्षेत्रमा ठूलो तरंग ल्याएको थियो। लामो समयदेखि विचाराधीन रहेको यो मुद्दा अन्तिम सुनुवाइको चरणमा पुगेको भए पनि पटक-पटक स्थगित हुँदै आएको छ।

अदालतले अर्को सुनुवाइको मिति भने अझै तोकेको छैन।

फेरि बढ्यो तेलको मूल्य

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको झण्डा भएको कार्गो जहाज नियन्त्रणमा लिइएको दाबी गरेपछि विश्व ऊर्जा बजारमा असर देखिएको छ।

सोमबार बिहान कच्चा तेलको मूल्य ४.७४ प्रतिशतले बढेर प्रति ब्यारेल ९४.६६ अमेरिकी डलर पुगेको छ। पछिल्लो घटनाक्रमसँगै अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्तिको चिन्ता बढेको देखिएको छ।

यसअघि इरानले हर्मुज स्ट्रेट हुँदै जाने जहाजलाई लक्षित गर्ने चेतावनी दिएको थियो। उक्त मार्ग विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिन्छ।

गत फेब्रुअरी २८ देखि अमेरिका-इजरायल र इरानबीच तनाव चुलिँदै गएको बताइन्छ। त्यसयता ऊर्जा बजारमा लगातार उतारचढाव भइरहेको छ।

अमेरिकी पक्षले इरानसँग वार्ता अघि बढाउने तयारी गरेको छ। ह्वाइट हाउसका अनुसार उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल इरानसँग छलफलका लागि पाकिस्तान जाने तयारीमा रहेको छ।

धवल शम्शेरसहित ५ नेताविरुद्धअनुशासन समितिमा उजुरी,को-को हुन् ?

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शम्शेर राणासहित ५ जना नेताविरुद्ध पार्टी अनुशासन समितिमा उजुरी परेको छ।

पार्टी स्रोतका अनुसार वैशाख ३ गते महामन्त्री राणा, प्रल्हाद साह, केन्द्रीय सदस्य धनसुर शाही, रन्जन कार्की तथा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाविरुद्ध उजुरी दर्ता भएको हो।

उनीहरूविरुद्ध पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाइएको छ। उजुरीमा विशेषगरी महामन्त्री राणाका गतिविधि र अभिव्यक्ति पार्टीको हितविपरीत रहेको उल्लेख गरिएको छ।

हालै काठमाडौंमा गरिएको एक भेलामा राणासहितका नेताहरूले एक साताभित्र महाधिवेशन मिति तोक्न र स्वतन्त्र संयोजकको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेका थिए।

उजुरीपछि राप्रपाको अनुशासन समिति सोमबार दिउँसो बस्दैछ। उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा समिति सक्रिय रहेको छ। समिति बैठकले प्रारम्भिक छलफल गर्ने बताइएको छ।

छिमेकीबीच झगडा : धारिलो हतियार प्रहार, एक जनाको मृत्यु

उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका-७ बल्टार बजारमा छिमेकी–छिमेकीबीचको विवादका क्रममा एक जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आइतबार राति करिब ८:१५ बजे भएको घटनामा ७३ वर्षीय रामप्रसाद राईले छिमेकी ६४ वर्षीय माहाशेर राईमाथि धारिलो हतियार प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार विवादपछि आवेगमा आएको आक्रमण हुँदा माहाशेर राईको छातीको दायाँ माथिल्लो भागमा गहिरो चोट लागेको थियो। घाइतेलाई उपचारका लागि नगर अस्पताल बेल्टार लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन्।

घटनापछि धारिलो हतियार प्रहार गर्ने रामप्रसाद राईलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

वसुन्धराश्री पुरस्कार पूर्वप्रधानमन्त्री चन्द र मानश्री पुरस्कार स्वामी अरुणलाई

काठमाडौं।  वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको प्रतिष्ठित ‘वसुन्धराश्री पुरस्कार’ वरिष्ठ साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द लाई प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो। नेपाली साहित्यको कथा, नाटक र निबन्ध विधामा विशिष्ट योगदान पुर्‍याई नेपाली वाङ्मयलाई समृद्ध बनाउन भूमिका खेलेकाले चन्दलाई सम्मान गर्ने निर्णय गरिएको हो।

वि.सं. १९९७ मा बैतडीमा जन्मेका चन्दका ‘विसर्जन’, ‘हिउँको तन्ना’, ‘बाह्रौँ खेलाडी’ र ‘नेताका साथी’ लगायतका कृतिहरू प्रकाशित छन्।

यसैगरी, प्रतिष्ठानले यस वर्षको ‘मानश्री पुरस्कार’ आध्यात्मिक चिन्तक तथा बोधिसत्व स्वामी आनन्द अरुण लाई प्रदान गर्ने निर्णय गरेको छ। योग, ध्यान तथा आध्यात्मिक दर्शनको विस्तारमार्फत नेपाली सभ्यता र वाङ्मयको श्रीवृद्धिमा योगदान दिएको भन्दै उनलाई सम्मान गर्न लागिएको हो।

वि.सं. २००१ मा जनकपुरमा जन्मेका स्वामी आनन्द अरुणका ‘अन्तरयात्रा’, ‘सन्तगाथा’ लगायतका कृतिहरू विभिन्न विदेशी भाषामा समेत अनुवाद भएका छन्।

यी दुवै पुरस्कारको राशि जनही ७५ हजार रुपैयाँ र सम्मानपत्र रहेको प्रज्ञाप्रतिष्ठानले जनाएको छ।

 

नेपाललाई एआईको विश्व केन्द्र बनाउन एमचामको पहल

काठमाडौं। नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन र क्रिप्टो-ड्रिभन कम्प्युटिङजस्ता भविष्यउन्मुख डिजिटल पूर्वाधारको विश्वव्यापी केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित ‘अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमचाम नेपाल)’ ले आफ्नो ‘वासिङ्टन डोर नक’ कार्यक्रम सम्पन्न गरेको छ।

नेपालको आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण मानिएको यस भ्रमणका क्रममा एमचाम टोलीले अमेरिकी सरकारका विभिन्न निकाय तथा निजी क्षेत्रका उच्च अधिकारीहरूसँग रणनीतिक छलफल गरेको जनाएको छ।

कार्यक्रममा विशेषगरी ‘हाइड्रो-टु-डाटा’ अवधारणामा जोड दिइएको छ। यस अवधारणाअनुसार नेपालको प्रचुर जलविद्युत स्रोतलाई प्रयोग गरी विश्वव्यापी रूपमा बढ्दो डाटा प्रोसेसिङ, एआई कम्प्युटेसन र ब्लकचेन प्रविधिको ऊर्जा माग पूरा गर्न सकिने प्रस्ताव अघि सारिएको छ।

मोघा इनर्जीका अध्यक्ष सम्रथ मोघाले नेपाललाई केवल ऊर्जा निर्यातकर्ता मात्र नभई भविष्यको डिजिटल अर्थतन्त्रको केन्द्र बनाउन सकिने बताएका छन्। उनका अनुसार नेपालमा सस्तो र नवीकरणीय ऊर्जा उपलब्ध भएकाले यहाँ हाइपरस्केल डाटा सेन्टर र एआई ट्रेनिङ पूर्वाधार विकास गर्न सम्भावना छ।

भ्रमणका क्रममा युएस इनर्जी एसोसिएसनसँगको सहकार्यमा आगामी दिनमा ‘युएस-नेपाल इनर्जी रोड शो’ आयोजना गर्ने सहमति भएको छ। साथै डिभलपमेन्ट फाइनान्स कर्पोरेसनसँग सम्भावित लगानी संयन्त्रबारे छलफल भएको र एआई तथा क्रिप्टो पूर्वाधारमा लगानी आकर्षित गर्न नियामक स्पष्टता आवश्यक रहेको विषयमा जोड दिइएको छ।

एमचाम नेपालका प्रतिनिधिमण्डलले अमेरिकी विदेश मन्त्रालय, ऊर्जा मन्त्रालय, वाणिज्य मन्त्रालय, युएस ट्रेड एन्ड डेभलपमेन्ट एजेन्सी तथा अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगमसँग समेत छलफल गरेको जनाएको छ।

संस्थाले नेपाल सरकारलाई लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र नियामक अवरोध हटाउन आग्रह गरेको छ। संस्थापक अध्यक्ष अजित विक्रम शाहले नेपालले अब सहायताबाट व्यापारतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

भ्रमणका क्रममा टोलीले विश्व बैंक, एसियाली विकास बैंक तथा अमेरिकी संसद्का सदस्यहरूसँग पनि भेटघाट गरी नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र व्यापार विस्तारबारे छलफल गरेको जनाएको छ।

नेपाल अहिले स्वच्छ ऊर्जा उत्पादन र डिजिटल अर्थतन्त्र विस्तारको महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै एमचामले दीर्घकालीन लगानी र पूर्वाधार विकासले देशको आर्थिक भविष्यलाई नयाँ दिशामा लैजान सक्ने दाबी गरेको छ।

गृहमन्त्री गुरुङलाई बर्खास्त गरी तत्काल पक्राउ गर्न माग,बालेन सरकार मौन

काठमाडौं। पुर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पुर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न हतारिएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गृहमन्त्री सुधन गुरुङको बिषयमा भने मौन भएको छ।

गृहमन्त्री सुधन गुरुङ माथि उठेका गम्भीर आरोपहरूको विषयमा तत्काल कारबाहीको माग गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षण गराएको छ।

संगठनले जारी गरेको प्रेस वक्तव्यमा गृहमन्त्री गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न तथा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरिएको हो ।

वक्तव्यमा पदमै बसेर छानबिन गर्नु सम्भव नहुने उल्लेख गर्दै यसले स्वार्थको द्वन्द्व सिर्जना गर्ने दाबी गरिएको छ। मन्त्री पदमा रहँदा आफ्नैविरुद्ध निष्पक्ष छानबिन हुन नसक्ने भएकाले यो आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत हुने संगठनको भनाइ छ।

त्यसैगरी, वक्तव्यमा प्रधानमन्त्री शाह नेतृत्वको सरकारप्रति लक्षित गर्दै क्याबिनेट गठनलाई गम्भीर राजनीतिक तथा नैतिक निर्णयका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ।

हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र पछि हटाउने प्रवृत्तिलाई अस्वीकार्य बताउँदै जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता प्रदर्शन गर्नुपर्नेमा जोड दिइएको छ।

संगठनले वर्तमान सरकारलाई ७६ जना शहीदहरूको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधि भएको उल्लेख गर्दै जनताको त्यागमाथि सस्तो राजनीति नगर्न चेतावनी दिएको छ। सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने पनि वक्तव्यमा उल्लेख गरिएको छ।

जेनजी मुभमेन्टले न्याय प्रक्रिया स्वतन्त्र, निष्पक्ष र दबाबमुक्त हुनुपर्नेमा जोड दिँदै दोषी जो-कोही भए पनि कानुनको कठघरामा उभिनुपर्ने बताएको छ। उक्त वक्तव्य जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा जारी गरिएको हो।

इरानमा दुई जनालाई फासी

एजेन्सी। इरानले विदेशी शक्तिका लागि जासुसी गरेको र देशभित्र अस्थिरता फैलाउने गतिविधिमा संलग्न रहेको आरोपमा दुई जनालाई मृत्युदण्ड दिएको छ। अलजजिरा का अनुसार उनीहरूलाई विदेशी शक्तिका लागि काम गरेको तथा राष्ट्रविरोधी गतिविधिमा संलग्न भएको अभियोग लगाइएको थियो।

इरानी न्यायिक निकायले उनीहरूले संवेदनशील सूचना संकलन गरी बाह्य शक्तिलाई उपलब्ध गराएको र महत्वपूर्ण संरचनामा क्षति पुर्‍याउने प्रयास गरेको जनाएको छ। मुद्दा लामो समयदेखि चल्दै आएको थियो र अन्ततः अदालतले मृत्युदण्डको फैसला सुनाएको हो।

त्यस्तै, इरानको तस्निम समाचार एजेन्सी का अनुसार ती दुई जनालाई इजरायलको गुप्तचर संस्था मोसादसँग सम्बन्धित सञ्जालका सदस्य भएको आरोपमा मृत्युदण्ड दिइएको हो।

समाचार अनुसार उनीहरूलाई सुरक्षित सञ्चार प्रणाली प्रयोग गर्ने, संवेदनशील स्थानहरूको पहिचान गर्ने समन्वय गर्ने तथा विस्फोटक उपकरण निर्माणसम्बन्धी विशेष तालिम लिएको अभियोगमा दोषी ठहर गरिएको थियो।

सरकारी वेबसाइटहरूमा अपांगमैत्री बनाउने सुविधा लागू

काठमाडौं। सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ।

सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यो प्रणालीले विशेषगरी अपांगता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरेको विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिएका छन्।

विभागका अनुसार अब सरकारी वेबसाइटहरू ‘किबोर्ड’को प्रयोगबाट मात्र पनि सजिलै सञ्चालन गर्न सकिनेछ। प्रयोगकर्ताले ‘माउस’ प्रयोग नगरी वेबसाइटको सम्पूर्ण भागमा पहुँच पाउन सक्ने व्यवस्था गरिएको छ।

त्यस्तै, ‘स्किप नेभिगेसन’ लिंक राखिएकाले किबोर्ड तथा ‘स्क्रिन रिडर’ प्रयोगकर्ताले सिधै मुख्य विषयवस्तुमा पुग्न सक्ने सुविधा पनि थपिएको छ।

वेबसाइटमा रहेका सबै महत्वपूर्ण तस्बिर, लोगो तथा सेवासम्बन्धी सामग्रीमा ‘अल्ट टेक्स्ट’ समावेश गरिएको छ, जसले स्क्रिन रिडर प्रयोगकर्तालाई सामग्री बुझ्न सहज बनाउनेछ।

साथै, फाराम भर्ने क्रममा आउने त्रुटि सन्देश र सुझावहरू अब स्पष्ट रूपमा सुन्न र बुझ्न मिल्ने बनाइएको छ। सर्च तथा सम्पर्क फारामजस्ता इनपुट क्षेत्रमा स्पष्ट नाम र संकेत राखिएकाले प्रयोगमा सहजता आउने विभागले जनाएको छ।

किबोर्ड प्रयोगकर्ताका लागि वेबसाइटभित्र आफू कुन स्थानमा रहेको भन्ने स्पष्ट देखिने दृश्य संकेतसमेत समावेश गरिएको छ।

फाराम पेस गरेपछि प्राप्त हुने सन्देशहरू पनि स्क्रिन रिडरमार्फत सजिलै बुझ्न सकिने व्यवस्था गरिएको छ।

विभागका महानिर्देशक साहका अनुसार यी सुधारहरू सामान्य प्रयोगकर्ताका लागि धेरै परिवर्तन जस्तो नदेखिए पनि सहायक प्रविधिमा निर्भर व्यक्तिहरूका लागि अत्यन्त उपयोगी हुनेछन्। उनले यस्ता पहुँचमैत्री सुधारले सबै नागरिकलाई समान रूपमा डिजिटल सेवामा पहुँच पुर्‍याउने लक्ष्यलाई बलियो बनाउने बताएका छन्।

दीपिका पुनः गर्भवती, रणवीरसँग दोस्रो सन्तानको तयारी

काठमाडौं। बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह दोस्रो पटक माता-पिता बन्ने भएका छन्। दीपिकाले आइतबार सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको र चाँडै दोस्रो सन्तानलाई स्वागत गर्न लागेको जानकारी दिएकी हुन्।

दीपिकाले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै यो खुसी साटेकी छिन्। तस्बिरमा उनकी छोरी दुआले प्रेग्नेन्सी टेस्ट किट समातेकी छिन् भने दीपिका र रणवीरका हातहरूले उनलाई समातेको देखिन्छ।

यो खुसी सार्वजनिक भएपछि बलिउड क्षेत्रका कलाकार र प्रशंसकहरूले सामाजिक सञ्जालमा बधाई दिएका छन्।

विशेष कुरा के छ भने गर्भावस्थाका बाबजुद पनि दीपिकाले आफ्नो कामबाट ब्रेक नलिने निर्णय गरेकी छिन्। उनी हाल निर्देशक एटलीको फिल्म ‘राका’ को सुटिङमा व्यस्त छिन्, जसमा उनी साउथ सुपरस्टार अल्लु अर्जुनसँग देखिँदैछिन्।

स्रोतका अनुसार दीपिकाले फिल्मका केही एक्सन दृश्यसमेत खिचिरहेकी छिन् र गर्भावस्थाभर सुटिङ जारी राख्ने योजना छ।

दीपिका र रणवीरले सन् २०१८ मा इटालीमा विवाह गरेका थिए। सन् २०२४ सेप्टेम्बरमा उनीहरूले पहिलो सन्तान छोरी दुआलाई स्वागत गरेका थिए।

दीपिकाका हातमा अहिले दुई ठूला फिल्म रहेका छन्। उनी सिद्धार्थ आनन्दको फिल्म ‘किङ’ मा शाहरुख खानसँग देखिनेछिन्, जुन सन् २०२६ डिसेम्बरमा रिलिज हुने तय भएको छ।

कुपण्डोलमा निशुल्क ‘नुगा बेस्ट’ थर्मल थेरापी केन्द्र सञ्चालनमा

ललितपुर।  स्वास्थ्य सेवालाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले ललितपुरको कुपण्डोल मा ‘नुगा बेस्ट’ थर्मल थेरापी केन्द्र सञ्चालनमा आएको छ। विगत ८ वर्षदेखि विभिन्न प्रतिष्ठित अवार्डबाट सम्मानित ‘नुगा मेडिकल’को प्रविधिमा आधारित यस थेरापीले सर्वसाधारणका स्वास्थ्य समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरिएको छ।

विशेषगरी डा. चो स्युङ-ह्युन को लामो अनुसन्धानबाट विकसित ‘टुरमेनियम’ नामक चारवटा प्राकृतिक तत्वको मिश्रणमा आधारित यो प्रविधिले मानव शरीरमा कुनै नकारात्मक असर नगरी उपचार गर्ने कुरा वैज्ञानिक परीक्षणबाट प्रमाणित भएको संस्थाको दाबी छ।

राप्ती केयर ट्रेड प्रालिद्वारा सञ्चालित यस केन्द्रले समाजसेवाको भावनाले काम गरिरहेको जनाएको छ। केन्द्रकी प्रबन्ध निर्देशक प्रमिला राई ले थेरापी सेवा नाफा कमाउने उद्देश्यभन्दा समाजसेवाका लागि सञ्चालन गरिएको बताइन्। आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूले पनि यहाँ आएर गुणस्तरीय सेवा लिन सक्ने उनले जानकारी दिइन्।

यो थर्मल थेरापी विशेषगरी मेरुदण्ड तथा नसासम्बन्धी समस्या, घुँडा र जोर्नीको दुखाइ, माइग्रेन, उच्च तथा न्यून रक्तचाप, मुटुसम्बन्धी समस्या, ग्यास्ट्रिक, कब्जियत, थाइराइड, एलर्जी र मोटोपनजस्ता दीर्घरोगमा प्रभावकारी मानिएको छ।

आधुनिक चिकित्सा पद्धतिसँगै प्राकृतिक उपचार खोज्नेहरूका लागि यो केन्द्र एक भरपर्दो गन्तव्य बन्दै गएको बताइएको छ। कुपण्डोलस्थित यस केन्द्रले सेवाग्राहीहरूलाई सहज स्वास्थ्य लाभको अवसर प्रदान गरिरहेको छ।

नेपाल र यूएई आमनेसामने हुँदै

काठमाडौं। नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेल खेल्दैछ। नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बेलुका ५ बजे सुरु हुनेछ।

नेपालले पहिलोपटक फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। साथै, दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपाली टोलीका लागि यो ऐतिहासिक अवसर मानिएको छ।

आजको खेलमा नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन्। नियमित कप्तान रोहित पौडेल भने आजको खेलमा उपलब्ध छैनन् र टोलीमा समावेश गरिएको छैन। त्यसैले दीपेन्द्रका लागि जितसँगै सिरिजको सुरुवात गर्ने चुनौती रहेको छ।

नेपाल र यूएईबीच प्रतिस्पर्धा सधैं रोचक रहने गरेको छ। टी-२० अन्तर्राष्ट्रियमा दुवै टोलीबीच हालसम्म ११ खेल भएका छन्, जसमा नेपालले ६ खेल जितेको छ भने यूएई ५ खेलमा विजयी भएको छ। कीर्तिपुरमा भएको एकमात्र खेलमा भने यूएईले जित हासिल गरेको थियो।

नेपाली टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन्।

सुनको मूल्य घट्यो,आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। सोमबार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी ५ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

अमेरिकामा भीषण गोलीकाण्ड: ८ बालबालिकाको मृत्यु

एजेन्सी। अमेरिकाको श्रिभपोर्ट, लुइजियाना मा भएको गोलीकाण्डमा १ देखि १४ वर्ष उमेर समूहका ८ जना बालबालिकाको ज्यान गएको छ। स्थानीय प्रहरीले घटनालाई घरेलु विवादसँग जोडिएको प्रारम्भिक निष्कर्ष निकालेको जनाएको छ।

प्रहरीका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान करिब ५ बजे घटना सुरु भएको थियो। एक बन्दुकधारीले अचानक १० जनामाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

गोलीकाण्डपछि हमलाकारी चोरी गरिएको गाडीमा भागेका थिए। घटनालगत्तै प्रहरीले खोजी अभियान तीव्र बनाउँदै संदिग्धलाई पछ्याएको थियो। सो क्रममा प्रहरीले हमलाकारीमाथि गोली प्रहार गर्दा उनी मारिएका छन्।

घटनामा घाइतेहरूको अवस्था र हमलाकारीको पहिचानबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। यस घटनाले स्थानीय समुदायमा त्रास र शोकको वातावरण सिर्जना गरेको छ भने प्रहरीले विस्तृत अनुसन्धान जारी राखेको छ।

सरकारी जग्गा दलाली : पूर्वप्रधानमन्त्रीसहितलाई पक्राउ गर्न सर्वोच्चमा रिट

काठमाडौं।  सार्वजनिक जग्गा दलाल संयन्त्रमार्फत जथाभावी बाँडिएको आरोपसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। रिटमा पूर्वप्रधानमन्त्रीदेखि मुख्यसचिवसम्मका उच्च पदाधिकारीलाई पक्राउ गरी छानबिन गर्न माग गरिएको छ।

पाल्पाको तानसेन नगरपालिका-९ निवासी भेषराज लुइँटेलले दायर गरेको रिटमा राज्यलाई ठूलो आर्थिक क्षति पुगेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तत्काल कारबाही अघि बढाउन परमादेश जारी गर्नुपर्ने माग गरिएको छ।

रिटमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका नाममा वन क्षेत्र, ऐलानी, सरकारी जग्गा, राष्ट्रिय निकुञ्ज लगायतका सार्वजनिक सम्पत्ति मनपरी रूपमा वितरण गरिएको उल्लेख छ। यस प्रक्रियामा संलग्न सबै पदाधिकारीमाथि छानबिन र कारबाही हुनुपर्ने माग गरिएको छ।

अनुसन्धानमा हस्तक्षेप हुन सक्ने भन्दै प्रमाण नष्ट हुन नदिन र साक्षी प्रभावित हुन नदिन आरोपितलाई पक्राउ गरी हिरासतमा राख्न आदेश दिनुपर्ने माग पनि रिटमा समावेश गरिएको छ। साथै सम्बन्धित फाइल, मन्त्रिपरिषद् निर्णय र डिजिटल अभिलेख जफत गरी सुरक्षित राख्न माग गरिएको छ।

त्यस्तै, सार्वजनिक जग्गा वितरणबाट राज्यलाई भएको क्षतिको विशेष लेखापरीक्षण गरी दोषीबाट क्षतिपूर्ति असुल गर्नुपर्ने माग पनि गरिएको छ। अनुसन्धानपछि दोषी देखिएका सबै पदाधिकारीविरुद्ध कानुनबमोजिम अभियोजन प्रक्रिया अघि बढाउन आदेश दिनुपर्ने माग गरिएको छ।

रिटमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म वन क्षेत्र, ऐलानी तथा अन्य संवेदनशील क्षेत्रमा पर्ने जग्गा वितरण कार्य तत्काल स्थगन गर्न अन्तरिम आदेशको माग गरिएको छ।

संविधानको धारा २५(२) र धारा ५१ अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित बस्ती विकास राज्यको दायित्व भए पनि त्यसविपरीत निर्णय गरिएको दाबी रिटमा गरिएको छ।

सर्वोच्च अदालतले यसअघि सार्वजनिक जग्गा सार्वजनिक नै रहनुपर्ने नजिर स्थापित गरिसकेको उल्लेख गर्दै सो नजिरविपरीत निर्णय गरिएको आरोप पनि लगाइएको छ।

सर्वोच्च प्रशासनका अनुसार उक्त रिटमाथि आगामी बिहीबार सुनुवाइ हुने तय गरिएको छ।

मलेसियामा भीषण आगलागी : एक हजार बढी घर खरानी

एजेन्सी। मलेसियाको उत्तरी बोर्नियो राज्य सबाको एक तटीय गाउँमा आइतबार बिहान भएको भीषण आगलागीमा झन्डै एक हजार घर जलेर नष्ट भएका छन्। घटनाबाट ९ हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन्।

सान्दाकन जिल्लाका अग्नि नियन्त्रण प्रमुख जिमी लागुङका अनुसार आगलागी करिब ४ हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको थियो। भाटाको समय परेकाले पर्याप्त पानीको स्रोत जुटाउन कठिनाइ हुँदा आगो नियन्त्रणमा चुनौती भएको उनले बताए।

सान्दाकन नगरपालिकाका अध्यक्ष वाल्टर केन्सनका अनुसार निरीक्षणपछि प्रभावित क्षेत्र बसोबासका लागि असुरक्षित ठहर गरिएको छ र घटनालाई विपद्का रूपमा घोषणा गरिएको छ।

स्थानीय समयअनुसार मध्यरात १ः३२ बजे सुरु भएको आगलागी दिउँसो करिब १२ बजे मात्र नियन्त्रणमा आएको थियो। घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ।

प्रभावित परिवारहरूका लागि अस्थायी आवासको व्यवस्था मिलाउने काम स्थानीय प्रशासनले सुरु गरेको छ।

रबि गुहार्दै बुढानिलकण्ठ पुगे गृहमन्त्री गुरुङ (भिडियो)

काठमाडौं। सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा आफ्नो नाममा शेयर रहेको तथ्य सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङ रास्वपा सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन्।

भट्टसँग सम्बन्धित स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङको प्रत्यक्ष साझेदारी रहेको कागजात सार्वजनिक भएसँगै रवि भेट्न पुगेका हुन्।

अनुसन्धानको दायरामा रहेको कम्पनीमा मन्त्री स्वयंको संलग्नता देखिएपछि अनुसन्धान प्रभावित हुन सक्ने भन्दै रास्वपाभित्रै राजीनामाको माग उठ्न थालेको छ।

यही दबाबबीच आइतबार राति गुरुङ बूढानीलकण्ठस्थित लामिछाने निवास पुगेका थिए। सुरक्षास्रोतका अनुसार उनी बेलुकी ८ बजेपछि पुगेका थिए भने राति करिब १० बजे फर्किएका थिए।

भेटका क्रममा गुरुङले प्रधानमन्त्री बालेन्द्र साह र लामिछानेबीच फोन संवाद गराउने प्रयास गरेको स्रोतले जनाएको छ। यद्यपि सभापति लामिछानेले पार्टीको बैठक जारी रहेको उल्लेख गर्दै आफ्नो धारणा बैठकमै राख्न आग्रह गरेका छन्।

घटनापछि गृहमन्त्री गुरुङमाथि थप राजनीतिक दबाब बढ्ने संकेत देखिएको छ।

प्रधानमन्त्री बालेनलाई भिक्टरको सुझाव- आफ्नै मन्त्रीबाट सम्पत्ति छानबिन सुरु गर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई विगतमा उनीसँग निकट रहेका इन्फ्लुयन्सर भिक्टर पौडेलले गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण लिएर अनुसन्धान गर्न सुझाएका छन् ।

उनको दल रास्वपाले पनि स्पष्टीकरण लिनुपर्ने उनको भनाइ छ । रुटिन अफ नेपाल बन्दका सञ्चालक उनले गुरुङमाथि लागेको आरोप पुष्टि नहुञ्जेल विश्वास नगर्ने भन्दै प्रश्न उठिसकेपछि स्पष्टीकरण लिएर अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

बालेन सरकारले सम्पत्तिको स्रोत खोज्न आयोग गठन गर्न लागेको भन्दै उनले यसको सुरुवात आफ्नै मन्त्रीहरुबाट गर्दा राम्रो हुने बताएका छन् ।

गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्री बालेनसँग माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न जेन-जी मुभमेन्ट नेपालले सरकारसँग माग गरेको छ।

मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यो स्वार्थको द्वन्द्वको स्पष्ट उदाहरण हुने उल्लेख गरिएको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी प्रेस वक्तव्यमा मन्त्रीको ओहदामा रहेर आफ्नैविरुद्ध छानबिन हुनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत रहेको भन्दै निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग अनिवार्य रहेको जिकिर गरिएको छ।
क्याबिनेटमा कसलाई लैजाने भन्ने निर्णय गम्भीर राजनीतिक र नैतिक विषय भएको भन्दै जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता प्रदर्शन गर्नुपर्ने वक्तव्यमा उल्लेख छ।
‘यो कुनै साधारण सरकार होइन, यो ७६ जना शहीदहरूको रक्तबलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व हो,’ वक्तव्यमा भनिएको छ, ‘जनताको त्याग र बलिदानमाथि सस्तो राजनीति गर्ने अधिकार कसैलाई छैन।’
मुभमेन्टले सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा कुनै पनि किसिमको सम्झौता वा ढिलासुस्ती स्वीकार्य नहुने चेतावनी समेत दिएको छ।
विवादास्पद व्यापारी दीपक भट्टसँग गुरुङको साझेदारी रहेको विषय बाहिरिएपछि गुरुङ विवादमा छन् ।

गृहमन्त्री गुरुङले सम्पति लुकाएको खुलासा,दिपक भट्टको कम्पनीमा भेटियो २५ हजार कित्ता सेयर

काठमाडौं। सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपमा अनुसन्धान भइरहेका व्यवसायी दीपक भट्ट र गृहमन्त्री सुधन गुरूङबीच घनिष्ठ व्यावसायिक साझेदारी रहेको खुलासा भएको छ।

भट्टकै प्रभावमा लाइसेन्स प्राप्त गरेको स्टार माइक्रो इन्स्योरेन्समा गृहमन्त्री गुरूङका २५ लाख रुपैयाँ बराबरका २५ हजार कित्ता सेयर रहेको खुलासा भएको हो।

तर,गृहमन्त्री गुरूङले यो सेयर आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छैनन्। कागजातअनुसार स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (दर्ता नं. ३०४६७०/०७९/८०) को सेयरधनी सूचीमा गुरूङ र भट्टबीच प्रत्यक्ष साझेदारी देखिन्छ।

संस्थापक सेयरधनीको ४९औँ नम्बरमा गोर्खा, चुमनुब्री-२ का स्थायी बासिन्दा तथा दिलबहादुर गुरुङका छोरा ‘सुधन गुरुङ’ नाम उल्लेख रहेको छ। ठेगाना तथा बुबाको नाम गृहमन्त्री गुरूङसँग मेल खाने भएकाले सो सेयर गृहमन्त्रीकै भएको पुष्टि हुन्छ । सेयर लगतमा नागरिकता नं. ११३७९ सहित २५ हजार कित्ता सेयर दर्ता भएका छन्।

त्यस्तै, कम्पनीको सञ्चालक समितिमा तेस्रो नम्बरमा प्रजुनी बज्राचार्यको नाम छ, जो व्यवसायी दीपक भट्टको इन्फिनिटी होल्डिङ्स की प्रतिनिधि हुन्।

तर गृहमन्त्री गुरूङले एक साताअघि सार्वजनिक गरेको सम्पत्ति विवरणमा यी २५ हजार कित्ता सेयरको कुनै उल्लेख छैन। उनले धितोपत्र बजारमा कारोबार भइरहेका सेयरका रूपमा २ करोड ७४ लाख रुपैयाँको सेयर मात्रै देखाएका थिए।

यसबीच सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टमाथिको अनुसन्धान लगभग सकिएको बताइएको छ।

भट्टले भृकुटी स्टक ब्रोकर मार्फत उधारोमा सेयर खरिद गरेको आधारमा विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको थियो। यस्तै समयमा गृहमन्त्री गुरूङ भट्टकै विवादित कम्पनीमा सेयरधनी रहेको तथ्य बाहिर आएको हो।

गृहमन्त्रीको सम्पति विवरणको तस्वीर:

पूर्णबहादुर भेट्न गोल्फुटार पुगे गगन, के मिल्ला कुरो ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्र देखिएको असन्तुष्टि हटाउँदै वृहत्तर एकता निर्माण गर्ने उद्देश्यले शीर्ष नेताहरूसँग राजनीतिक संवाद सुरु गरेका छन्।

यसै क्रममा उनले आइतबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्कासँग गोल्फुटारस्थित खड्का निवासमा भेटवार्ता गरेका हुन्।

भेटपछि सभापति थापाले पार्टी एकता आफ्नो पहिलो दायित्व भएको उल्लेख गर्दै वरिष्ठ नेताहरूसँग निरन्तर संवादमार्फत संगठनलाई फेरि सबल बनाउने प्रक्रिया अघि बढेको बताए।

उनले सञ्चारकर्मीसँग भने, ‘पार्टीको वृहत्तर एकताका लागि सिनियर नेताहरूसँग छलफल सुरु गरेको छु। सर्वोच्च अदालतको निर्णयले कांग्रेसभित्रको एकतालाई थप मजबुत बनाउने वातावरण तयार भएको छ।’

उनका अनुसार पार्टीलाई भित्रैबाट सुदृढ बनाउँदै आगामी यात्रामा साझा दृष्टिकोणसहित अघि बढ्न अहिलेको समय महत्वपूर्ण अवसर बनेको छ।

यसैबीच, पन्ध्रौँ महाधिवेशनको तयारी अघि बढिसकेको भन्दै सभापति थापाले सबै नेता तथा कार्यकर्तालाई महाधिवेशनलाई सफल बनाउन जुट्न आह्वान गरेका छन्।

उनले महाधिवेशनलाई कांग्रेसको रूपान्तरण, सुदृढीकरण र भविष्यको दिशा तय गर्ने मोडका रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

बालेन र अमेरिकाबीच ‘मुस्ताङको युरेनियम’ सौदा : भारतको दाबी, के भन्छ बालेन सरकार?

काठमाडौं। भारतीय सञ्चारमाध्यमहरूले नेपालले हिमालय क्षेत्रमा रहेको युरेनियम भण्डार अमेरिकालाई दिने तयारी गरेको दाबी गरेका छन्। नवभारत टाइम्समा प्रकाशित एक समाचारमा अमेरिकी विदेश राज्यमन्त्रीको नेपाल भ्रमणलाई आधार मानेर यस्तो अनुमान गरिएको उल्लेख छ।

समाचारमा उनको नेपाल भ्रमण अन्य दक्षिण एसियाली देशहरू नसमेटिनु असामान्य भएको भन्दै त्यसलाई सम्भावित रणनीतिक छलफलसँग जोडिएको दाबी गरिएको छ। साथै मुस्ताङको लोमान्थाङ क्षेत्रमा रहेको भनिएको करिब ३० वर्ग किलोमिटर क्षेत्रलाई ‘विशेष क्षेत्र’ घोषणा गर्ने तयारी भइरहेको दाबी गरिएको छ।

त्यहाँ युरेनियम प्रशोधनका लागि अमेरिका र अष्ट्रेलियालाई विशेष अधिकार दिन सकिने, तथा नेपाली सेनाको समन्वयमा विदेशी प्राविधिक टोली संलग्न हुने योजना रहेको जस्ता विवरणसमेत समाचारमा उल्लेख छन्। तर यी सबै दाबी स्वतन्त्र रूपमा पुष्टि नभएको स्पष्ट गरिएको छ।

समाचारमा सन् २०१७ को एमसीसी परियोजना, सम्भावित डाटा सेन्टर विकास र रणनीतिक खनिज व्यवस्थापनसँग सम्बन्धित विषय पनि जोडेर प्रस्तुत गरिएको छ। साथै मुस्ताङ क्षेत्रमा युरेनियम भण्डार रहेको भन्दै विभिन्न अनुमान र सम्भावनालाई आधार बनाइएको छ।

तर नेपाल सरकारका तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले यस्ता कुनै पनि सम्झौता वा छलफल नभएको स्पष्ट गरेका छन्। भूगर्भ विभागले पनि औपचारिक रूपमा कुनै उत्खनन वा हस्तान्तरण प्रक्रिया अघि नबढेको बताइएको छ।

यसैबीच,नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वरक्षामन्त्री भीम रावलले सरकारसँग मुस्ताङको युरेनियमलाई लिएर उठेका प्रश्नको जवाफ दिन माग गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत एक बयान जारी गर्दै उनले युरेनियम अमेरिकी र अस्ट्रेलियन कम्पनीलाई उत्खनन गर्न दिएको चर्चा भइरहेको भन्दै प्रश्न गरेका हुन्। उनले यस्तो गम्भीर र संवेदनशील विषयमा सरकार मौनता रहेको भन्दै प्रश्न गरेका छन्।

हालसम्म नेपालले युरेनियम उत्खनन वा प्रशोधनका लागि कुनै विदेशी मुलुकसँग औपचारिक सम्झौता नगरेको सरकारी स्रोतहरूले स्पष्ट पारेका छन्।

गृहमन्त्री सुधनको कार्यशैलीबारे के भने सभापति रवि लामिछानेले ? (भिडियो)

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको कार्यशैलीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै प्रश्न उठेकोबारे सभापति रवि लामिछानेले जवाफ दिएका छन् । उनले अहिले मूल्याङ्कन गर्ने बेला नभएको बताए ।

एक सञ्चारकर्मीले गृहमन्त्री सुधन गुरुङको कार्यशैलीबारे रास्वपाभित्र पनि कुरा उठेको भन्ने छ नि ? भन्ने प्रश्नमा लामिछानेले भने, ‘छैन, छैन । अहिले मूल्याङ्कन गर्ने बेला भएको छैन ।’

उनले पार्टी लोकतान्त्रिक भएकाले प्रश्नहरू र आलोचनाहरूलाई नियमित अभ्यास भएको पनि बताए ।

 

‘सपनादेखि सम्भावनासम्म’ सार्वजानिक

काठमाडौं। सामसङ नेपालले ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ ।

मोबाइल तथा उपभोक्ता विद्युतीय उपकरण क्षेत्रमा अग्रणी ब्रान्डका रूपमा स्थापित सामसङले यस अभियानमार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीको योगदानलाई उजागर गर्दै उनीहरूले परिवार र देशका लागि निर्वाह गरिरहेको महत्वपूर्ण भूमिकालाई सम्मान गर्ने प्रतिबद्धता जनाएको छ ।

कम्पनीका अनुसार, यो पहलले नवप्रवर्तनमार्फत जीवनलाई आपसमा जोड्ने आफ्नो दीर्घकालीन उद्देश्यलाई थप सशक्त बनाउने लक्ष्य राखेको छ ।

अभियानअन्तर्गत ‘सामसङ रेमिटमा लाभ’ नामक विशेष योजना सार्वजनिक गरिएको छ, जसले रेमिटेन्समा आधारित परिवारलाई लक्षित गरी सहजता र अतिरिक्त लाभ प्रदान गर्ने उद्देश्य राखेको छ । उक्त योजना अप्रिल २४ देखि लागू हुने जनाइएको छ ।

कम्पनीले रेमिटेन्सलाई नेपालको अर्थतन्त्रको प्रमुख आधारका रूपमा स्वीकार गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राष्ट्र निर्माणका महत्त्वपूर्ण आधारका रूपमा चित्रित गरेको छ ।

बेपत्ता बाबुछोराको शव फेला

अछाम। अछामकाे तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । 

तुर्माखाँद गाउँपालिका-३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको आज शव फेला परेको हो ।

दुवैजना ३ वैशाखमा डुंगा पल्टिँदा बेपत्ता भएका थिए । कर्णालीपारि सुर्खेतको पञ्चपुरी नगरपालिका-७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णाली नदीमा डुंगा पल्टिँदा बुबाछोरा बेपत्ता भएका थिए ।

सुर्खेतबाट आएको सशस्त्र प्रहरी नायब निरीक्षक चेतन राजकोटी नेतृत्वको ६ जनाको गोताखोर टोली र नं ४९ गुल्म हेडर्क्वाटर खप्तड अछामबाट सशस्त्र प्रहरी सहायक निरीक्षक खेमराज खतिवडाको नेतृत्वको विपद् व्यवस्थापन टोली घटनास्थलमा खटिएकाे थियाे । 

टाेलीले घटनास्थलबाट ५०० मिटर पारि पानी मुनिबाट शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

…अनि रवि डोजर आतंकको जवाफ नदिइ गाडीमा चढेर हुइँकिए (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रीहरूलाई नयाँ आइफोन दिएको भन्ने समाचार गलत भएको बताएका छन् ।  गलत समाचारको जवाफ आफूले नदिने उनको भनाइ छ ।

पार्टी केन्द्रीय सचिवालय बैठकपछि उनलाई सञ्चारकर्मीहरूले सोधेका थिए– दुई तिहाई सरकारको मन्त्रीहरूलाई उपचार आइफोन रहेछ होइन सभापतिज्यू ?

जवाफमा सञ्चारमन्त्रीले होइन भनेकाले आफूले गलत समाचारको जवाफ नदिने बताएका हुन् ।

बालेन सरकारले डोजर आतंक सिर्जना गरेको र विगतमा सरकारले त्यसो गरे आफू छातीमा गोली थाप्न तयार रहेको बताउने उनलाई सञ्चारकर्मीहरूले प्रश्न गरेका थिए । तर, उनी जवाफ नदिई गाडी चढेर हुइँकिए ।

कांग्रेस फुटाएर नयाँ दल गठन गरौँ भन्ने को–को हुन् ?

काठमाडौं । नेपाली कांग्रेस छाडेर नयाँ पार्टी गठन गर्नुपर्ने बहस कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवापक्षमा उठेको छ ।

यो पक्षको नेता पूर्णबहादुर खड्का हुन् । उनको अध्यक्षतामा आइतबार धुम्बराहीस्थित एक होटलमा बसेको बैठकमा नेताहरू वीरबहादुर बलायर, शिवप्रसाद हुमागाईं, कुन्दनराज काफ्ले र गुरु बराल नयाँ पार्टी गठन गरेर जानुपर्ने पक्षमा उभिएका हुन् ।

सम्मानजनक पार्टीमा जिम्मेवारी नपाइने हो भने अलग हुने विकल्प उनीहरूले प्रस्तुत गरेका हुन् ।

शुक्रबार सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिनू भन्दै आदेश दिएको थियो । यसपछि शनिबार र आइतबार देउवापक्षको बैठक बसेको हो ।

बैठकमा नयाँ दल गठन गरेर जाने विषय पनि उठेपछि यसले कांग्रेस एकताबद्ध नहुने जोखिम बढेको छ ।