`

अब फोन गरेरै बाढी सम्बन्धी पूर्वसूचना दिइने

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्व सूचनालाई थप प्रभावकारी बनाउनका सर्वसाधारणलाई फोन गरेरै जानकारी दिने भएको छ । विभागले यसका लागि ‘भ्वाइस कल’ सेवा सुरु गर्ने तयारी गरेको हो ।

बाढी आउने खतरा देखिएमा एसएमएसमार्फत सन्देश प्रवाह गर्दै आएको विभागले अबदेखि भने ‘भ्वाइस कल’मार्फत पनि पूर्व सूचना सम्प्रेषण गर्ने तयारी थालेको हो ।

विभागका बाढीविद् विनोद पराजुलीले नेपाल टेलिकमसँगको सहकार्यमा विभागले यही सातादेखि परीक्षणका रूपमा ‘भ्वाइस कल’मार्फत सूचना प्रवाह गर्ने तयारी गरिरहेको जानकारी दिए ।

‘मोबाइल एसएमएस सबै लक्षित वर्गमा पठाएर बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण प्रयास गर्दै आएका थियौँ । तर सबै जनताले एसएमएस आएको थाहा नपाउन सक्छन् वा सबैले एसएमएस पढ्न सक्दैनन्,’ उनले भने, ‘त्यसैले फोन नै गरेर सन्देश प्रवाह गर्ने तयारी गरेका हौँ ।’

उनले भने, ‘एकै पटक धेरैलाई ‘भ्वाइस कल’ गर्दा सेवा अवरुद्ध कति हुन्छ ? भन्ने विषयमा थप परीक्षण गर्दै छौँ । यही साता परीक्षण गर्ने तयारीका साथ छलफल भइरहेको छ ।’

पराजुलीका अनुसार बाढीसम्बन्धी पूर्व सूचना उपलब्ध गराएपछि बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण हुन थालेको छ । पूर्व सूचनालाई थप प्रभावकारी बनाउन पूर्वतयारी तथा पूर्वसूचनामा थप लगानी आवश्यक पर्ने उनको भनाइ छ ।

‘पछिल्लो समय पूर्व सूचनाका कारण धनजनको क्षति न्यून भएको छ । पहिला–पहिला तराईमा बाढीका कारण बढी क्षति पुग्थ्यो । पूर्व सूचना प्रणाली पनि तराईका नदीमा जडान भएका छन्,’ पराजुलीले भने, ‘तर पहाड र हिमाली क्षेत्रमा पूर्व सूचना प्रणाली कम छन् । बाढीका घटना पहाड र हिमालमा पनि हुन थालेकाले अब ती क्षेत्रमा पनि पूर्व सूचना प्रणाली जडान गर्न आवश्यक छ ।’

जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले पनि जलवायु परिवर्तनको असरका कारण बाढीको घटना अब तराई केन्द्रित मात्र नभई हिमाल तथा पहाडी क्षेत्रमा बढ्दै गएको भन्दै सोअनुसार अनुकूलनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।

‘बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न पूर्व सूचनाको पहुँच अब सबै क्षेत्रमा हुनुपर्छ’, उनले भने । उप्रेतीका अनुसार जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जोखिम बढिरहेको छ र जसका कारण एक्कासि बाढी आउँदा धनजनको क्षति हुन थालेको छ ।

‘जोखिममा रहेका हिमताल क्षेत्रमा पूर्व सूचना प्रणाली जडान गर्न सकेमा सम्भावित क्षति न्यूनीकरण हुनसक्छ । एसएमएस मात्र नभई ‘भ्वाइस कल’ ले अझ प्रभावकारी बनाउन सक्छ,’ उनले भने ।

जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छः गृहमन्त्री लेखक

काठमाडौँ भदौ । गृहमन्त्री रमेश लेखकले द्वन्द्वरहित समाज केबल काल्पनिक विषय मात्रै भएको बताएका छन् ।

यहाँ आज आयोजित नेपालमा शान्ति निर्माणका चुनौती विषय कार्यशाला गोष्ठीको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले द्वन्द्वसँगै समाधान पनि हुने गरेको धारणा राखे । “द्वन्द्वरहित समाज कसैले भन्छ भने त्यो काल्पनिक हो, यथार्थ होइन”, उनले भने, “जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ, हामीले द्वन्द्वलाई ठीक ढङ्गले बुझिदिनुपर्छ, द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो ।”

पछिल्लो समय संविधानले गरेको अधिकारको बाँडफाँटले मुलुकमा द्वन्द्व उत्पन्न गराइरहेको सङ्केत पाइरहेको उनको भनाइ थियो । “पालिकाहरुबीच अहिले प्राकृतिक स्रोतसाधनको वितरण र सीमाको द्वन्द्व भएको देखिन्छ”, उनले भने, “उत्पन्न द्वन्द्व र सम्भावित द्वन्द्वको व्यवस्थापन गरिनुपर्छ ।”

विस्तृत सम्झौताताका वार्ता समितिमा रहँदाका अनुभव सुनाउँदै उनले २०६३ मङ्सिर ५ गते सशस्त्र द्वन्द्वको समाप्त भएको बताए । “हिंसाको समाजलाई शान्तिको रुपान्तरण गरिएको छ”, उनले भने, “द्वन्द्वका प्रकृति संसारभर फरकफरक छन्, द्वन्द्वको प्रकृति फरक छ, सर्वव्यापी छ, समाज रहुञ्जेल द्वन्द्व रहन्छ ।”

उनले धेरै विश्वविद्यालय, स्कूल, कलेज, सडक र पुल बनाउने विषय ठीक भए पनि धेरै संविधान बनाउने कुरो खराब रहेको बताए ।

“विसं २०७२ को सातौँ संविधान हो, देश कति ज्यादा अस्थिरतामा गयो, कति अनिश्चितता र कति ज्यादा द्वन्द्वबाट गुज्रियो भन्ने आवस्थाको मापन गर्ने कुरा संविधान हो”, उनले भने, “नेपाल संसारका विरलैमध्येको त्यस्तो देश हो, जसले सात दशकमा सात संविधान बनायो, संविधान निर्माणको यात्रा २००४ सालदेखि सुरु भएको थियो ।”

सरकारमा मन्त्री हेरफेर सुरु, जसपाले दुई जना मन्त्रीलाई फिर्ता बोलाउने

काठमाडौँ । अशोक राई नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टीले मन्त्री हेरफेर गर्ने भएको छ । पार्टीको पछिल्लो बैठकमार्फत्‌ जसपाले यस्तो निर्णय गरेको हो ।

दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिएको जसपाका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । “सरकारमा सहभागी हुँँदा नै एक वर्षका लागि भनेर पठाइएको थियो । अहिले सोही निर्णय कार्यान्वयन गर्ने निर्णय गरिएको हो,” उनले भने, “नयाँ बन्ने मन्त्रीको नाम प्रधानमन्त्रीसँग पहिल्यै पठाइसकिएको छ ।”

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाबाट हाल प्रदीप यादव खानेपानीमन्त्री र नवलकिशोर साह महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री छन्‌ ।

उनीहरूलाई फिर्ता बोलाएर डा. वीरेन्द्र महतो र रञ्‍जु झालाई सरकारमा पठाउने निर्णय भएको सो पार्टीका नेताहरूले बताएका छन्‌ । नेताहरूका अनुसार, ती मन्त्रीहरूले यही भदौ ११ गतेभित्र राजीनामा दिनेछन्‌ ।

टक्सार बजारमा खुल्यो सङ्ग्रहालय

टक्सार।  भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो ।

नवोदय नामक संस्थाले ‘भोजपुर सङ्ग्रहालय’ स्थापना गरी सर्वसाधारणका लागि खुला गरेको हो । परम्परागत सामग्री भावी पुस्ताका लागि संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको संस्थाका अध्यक्ष किशोरकुमार ताम्रकारले बताए ।

उनले भने, ‘टक्सारमा पहिला एक र दुई पैसाका टक पनि काटिने गरिन्थ्यो, त्यो पैसा समेत सङ्ग्रहालयमा देख्न सकिन्छ, यसको व्यवस्थापन र सञ्चालनका लागि आगामी दिनमा दीर्घकालीन योजनाका साथ अघि बढ्नेछौँ ।’

सङ्ग्रहालयमा हलो, काठका विभिन्न सामग्री, लालटिन, माटाका भाँडा, क्यासेट राखिएको छ । संस्थाका सचिव यदु सुवालले स्थानीय स्तरमा प्रयोग भएका पुराना सामग्री सङ्ग्रह गरी सङ्ग्रहालय स्थापना गरिएको बताए ।

कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सिर्जना राईले टक्सार इतिहास ठाउँ भएको उल्लेख गर्दै सङ्ग्रहालयले यहाँको संस्कार र संस्कृति जोगाउन सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गरिन् ।

विसं १८७२ मा राजा गीर्वाण युद्ध शाहको पालामा स्थापना भएको ऐतिहासिक टक्सार बजारको संरक्षण गर्न पनि सङ्ग्रहालय स्थापना गरिएको समाजसेवी चन्द्रकुमार उदासले बताए ।

रक्तदान परोपकारी हितसँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट

गण्डकी। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदानले परोपकारी हितसँगै स्वयं व्यक्तिको पनि हित हुने बताएका छन् ।

बह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल पार्दी शाखाले आइतबार आयोजना गरेको रक्तदान शिविरको उद्घाटन गर्दे उनले रक्तदान कार्यक्रम मानवीय, धार्मिक र सामाजिक कर्मसँग जोडिएको पवित्र कार्य रहेको बताए ।

उनले स्वैच्छिक रक्तदान एउटा महत्त्वपूर्ण मानवीय र सामाजिक सेवा भएको बताए । यस्ता कार्यले युवापुस्तामा मानवसेवा र सहयोगी भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘रक्तदानको महत्वबारेमा थप जागरूकता फैलाउन पनि उत्तिकै मद्दत गर्दछ ।’

संस्थाका अन्तर्राष्ट्रिय पूर्वमुख्य प्रशासिका राजयोगिनी प्रकाशमणिको १८औँ पुण्य स्मृति तथा विश्व भ्रातृत्व दिवसका अवसरमा नेपाल र भारतमा ब्रह्माकुमारीका प्रायः सबै स्थानीय सेवा केन्द्रले यही भदौ ६ देखि ९ गतेसम्म अन्तर्राष्ट्रिय रक्तदान शिविरको आयोजना गरेको शाखा प्रमुख अमृत दिदीले जानकारी दिइन्।

मधेसका २५ पालिकामा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै

जनकपुरधाम । मधेस प्रदेशका १३६ पालिकामध्ये २५ वटामा कृषि तथा पशुपक्षी उपचार केन्द्र निर्माण गर्न लागिएको छ । सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा रु ७५ करोडको लागतमा प्रदेशका २५ पालिकामा भूकम्प प्रतिरोधात्मक, सुविधा सम्पन्न कृषि तथा पशुपक्षी उपचार तथा परीक्षण केन्द्रको भवन निर्माण भइरहेको हो ।

विश्वबंैकको ऋण सहयोगमा सो मन्त्रालयको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाअन्तर्गत आर्थिक करिडोरको कार्यालय बर्दिबासले २५ वटा पालिकामा भवन निर्माण गरिरहेको हो । आयोजना कार्यालयका अनुसार एउटा भवन निर्माणमा करिब रु तीन करोडदेखि रु पाँच करोड खँर्च हुने अनुमान गरिएको छ ।

कृषिको माटो परीक्षण, पशुको रोगसम्बन्धी अनुसन्धान तथा पशुमा लाग्ने विभिन्न रोगको उपचार, पशुको गोबर तथा दूधजन्य पदार्थको परीक्षण गर्ने उद्देश्यले अत्याधुनिक उपकरणसहित ल्याब स्थापना गरेर सो केन्द्रबाट सेवा दिने उद्देश्य रहेको कार्यालय प्रमुख राजेश साहले जानकारी दिएका छन् । सबै भवनको डिजाइन समान हुनुका साथै प्रविधियुक्त बनाइने उहाँले बताउनुभयो ।

निर्माण भइरहेको सो दुईतले भवनमा कृषि तथा पशुका लागि बेग्लाबेग्लै उपचार कार्यकक्ष तथा प्रयोगशालाका साथै सोही भवनमा सुपथमूल्यमा कृषि तथा पशुपक्षीमा लाग्ने रोगको उपचारसहित औषधि बिक्री कक्षका लागि दुई वटा सटरसमेत निर्माण हुने साहले उल्लेख गरेका छन् । भवन निर्माण भइरहेका २५ वटा पालिकामध्ये १४ वटाको काम सकिएको कार्यालयले जनाएको छ ।

सोही क्रममा जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरियामा सोही आयोजनाद्वारा निर्माण गरिएको सुविधा सम्पन्न भवन जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख साहले जानकारी दिएका छन् । उनका अनुसार उक्त भवन भ्याटसहित रु दुई करोड २५ लाखमा निर्माण गरिएको हो ।

यस वर्षको गौरा पर्व भदौ १५ गते

काठमाडौ‌ । यस वर्षको गौरा पर्व यही भदौ १५ गते मनाइने भएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्कार जोतिष डिल्लीराज जोशीद्वारा हस्ताक्षरित आज प्रकाशित विज्ञप्तिमा भदौ १२ देखि सुरु भई १५ गते मुख्य दिनका रुपमा मनाइने जनाइएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘गौरा पर्व पर्वतराज हिमालय पुत्री पार्वतीको कठोर तपस्याले सफलता प्राप्त गरेको सुखद उपलक्ष्यमा वैदिककालदेखि मनाइँदै आएको हाम्रो मौलिक सांस्कृतिक पर्व हो, गौरा पर्वमा व्रतालु नारीहरुको प्रमुख भूमिका रहेको हुन्छ ।’

विज्ञप्तिमा उल्लेख भएअनुसार भदौ १२ गते भाद्र शुक्लपक्ष पञ्चमी तिथि बिहान ७ः१० बजेसम्म सिंहलग्न र अपराह्न ३ः५४ बजेसम्म पञ्चमीतिथि रहेको छ तथा यसैदिन बिरुडा (पञ्च अनाज)भिजाउने बिरुडा पञ्चमी पनि रहेको छ ।

यस्तै भदौ १३ गते बिरुडा धुने षष्ठीतिथि साँझ ५ः५४ बजेसम्म रहेको छ । यसैदिनमा बिरुडा धुने र नोला(पानीको धारामा) गोरा पुजिने गरिन्छ । भदौ १४ गते गौरा सप्तमी र अमुक्ताभरण सप्तमी साँझ ७ः५७ बजेसम्म रहेको छ । यसैदिन गौरा भित्र्याउने, गौरा र दुबधागो पुजन रहेको छ । भदौ १५ गते  दुर्वाष्टमी व्रत, गौरा पर्वको मुख्य दिन अठ्वाली अनुराधा नक्षत्र अपराह्न ३ः५६ बजेसम्म रहेको जनाइएको छ ।

अठोला पञ्चाङ्गका अनुसार नयाँ सृष्टि, माया–प्रेमाकर्षण, शान्ति, धैर्यता, पारिवारिक मिलन, सामाजिक–सद्भाव, हर्ष र बन्धुत्वको सन्देश बोकेको यो पर्वमा मनस्विनी, शिवशक्ति माँ गौरीको तपलाई अनुसरण गरी महिला पवित्र रही, चार दिनसम्म निराहार व्रत बसी, गौरी– महेश्वरको प्रतिमा बनाई मङ्गलामुखी बाणी ९सगुना० र बिरुडाको प्रसादले इच्छित फल प्राप्तिका लागि गौरी–महेश्वरको ध्यानमग्न भई पूजा–आराधना गर्ने गर्दछन् ।

महिलाले यस वर्ष दुबधागो उत्तराभिमुख भई लगाउँदा शुभ रहेको छ । आफ्नो अनुकूलता र चलनअनुसार गोराः सेलाइने (समापन) छ ।  यसवर्ष गौरा पर्व भाद्र शुक्ल पक्षमा परेको हुँदा नौली गोरिया (नवविवाहिता नारी)ले उज्याली गोराः मा दुबधागो लाउन पाउने हुँदा गौरा पर्व थप उल्लासमय हुनेछ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा पञ्चतन्मात्राज्ञमा माँ गौरीको कृपादृष्टि बनिरहोस् भन्ने कामना गर्दै, अमूल्य निधि र वैभवका रुपमा रहेका हाम्रा धार्मिक र सांस्कृतिक पर्व हरितालिका तीज, गणेश चतुर्थी, ऋषिपञ्चमी र गौरापर्वको सुखद उपलक्ष्यमा व्रतालु महिला दिदीबहिनी, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइको सुस्वास्थ, सुख, शान्ति र समृद्धिको हृदयतः मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।’

तीजले सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छः ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले नेपाली समाजको मौलिकता र सांस्कृतिक अस्तित्व जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको बताएका छन् ।

नेपाल विद्यार्थी संघ, पशुपति बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको ‘हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज’ को अवसरमा आयोजित बृहत् सांस्कृतिक तथा दर खाने कार्यक्रममा मन्त्री खड्काले तीजलाई केवल महिलाको पर्व नभई समाजलाई अनुशासित, मर्यादित र आस्थासँग जोड्ने माध्यमका रूपमा लिनुपर्ने बताएका हुन् ।

मन्त्री खड्काले भने, “कुनै धातु तरल अवस्थामा रहँदा जसरी पाइएको फ्रेमअनुसार आकार लिन्छ, विद्यार्थी पनि आजको दिनमा आफैंलाई जसरी तयार गर्छन्, त्यसरी नै भविष्य निर्माण हुन्छ। त्यसैले धर्म, संस्कृति र समाजको रक्षा गर्दै योग्य नागरिक बन्नु तपाईँहरूको जिम्मेवारी हो। तीज अब दाजुभाइ, आमा–दीदी–बहिनी सबैले मिलेर मनाउने साझा पर्वको रूपमा स्थापित हुँदै गएको छ।”

कार्यक्रममा योगमाया आयुर्वेद विश्वविद्यालयका उपकुलपति डा. रमेश ढुंगेलले तीजजस्ता सांस्कृतिक पर्वहरूले नेपाललाई विश्वमञ्चमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले भने, “हाम्रा पर्वहरूले राष्ट्रिय पहिचानलाई निरन्तरता दिने मात्र होइन, विविधतामूलक संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अवसर पनि प्रदान गर्छन्।”

क्याम्पस इकाई समितिका अध्यक्ष सरोज लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ता गीता गुरुङले तीजलाई सबै जातजाति र भाषा–भाषीबीच साझा पर्वका रूपमा विस्तार हुँदै गएको बताउँदै महिलाहरूलाई अझै पनि आसन, भाषण र शासनमा उचित स्थान नपाएकोमा चिन्ता व्यक्त गरे।

क्याम्पस प्रमुख विनोद पन्तले विद्यार्थीहरूलाई सांस्कृतिक चेतना, अनुशासन र ज्ञानसँगै अगाडि बढ्न आग्रह गरे। कार्यक्रममा नृत्य, गीत तथा दर खाने सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो। सहभागीहरूले तीजलाई महिला सशक्तिकरण मात्र नभई सामाजिक सद्भाव र सहकार्यको पर्वका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए।

भियतनाम र नेपालका उपराष्ट्रपतिबीचको बैठकमा के भयो कुराकानी ?

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा आएकी भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ।

आज भएको भेटमा उनीहरुबीच दुवै मुलुकमा धार्मिक समानता रहेको र धार्मिक र सांस्कृतिक पर्यटनका प्रचुर सम्भावनाबारेमा छलफल भएको थियो।

उनीहरुबीच मित्रवत्, न्यानो र सौहार्द रुपमा सम्पन्न भेटवार्ता भएको जानकारी गराउँदै परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारी द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयका बारेमा विचार आदानप्रदान भएको बताए।

दुवै मुलुकबीचको सम्बन्ध मित्रता, सद्भावना र सार्वभौमिकताको सम्मानमा आधारित रहेको र अन्तरराष्ट्रिय मञ्चमा साझा धारणाका साथ अघि बढ्ने सम्बन्धमा उनीहरुबीच कुराकानी भएको थियो।

दुवै उपराष्ट्रपतिबीच मन्त्रालयगत र विभिन्न तहमा भ्रमण आदानप्रदान गर्ने सहमति भएकोसमेत भएको छ। सो अवसरमा दुवै मुलुकबीच हवाई सम्बन्ध विस्तारका लागि आपसी छलफल गर्ने विषयमा कुराकानी भएको सहसचिव अधिकारीले बताए।

भियतनाम उच्च आर्थिक वृद्धिदर भएको मुलुक भएकाले नेपालले त्यहाँबाट सिक्नसक्ने र लगानीको सम्भावनाका विषयमा उनीहरुबीच छलफल भएको सहसचिव अधिकारीले बताए।

द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधिलगायत विषयमा र जनस्तरको सम्बन्ध अघि बढाउने विषयमा उनीहरुबीच कुराकानी भएको थियो।

भियतनामका तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो। यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।

उपराष्ट्रपति भो थि आन सुआन उपराष्ट्रपति यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार आइपुगेकी हुन्। उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ। 

बढ्दै गइरहेको नेपाल-चीनको सम्बन्ध

काठमाडौँ । प्राध्यापक हुआङ झेङ डुओ चीनको सिचुआन विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रका निर्देशक हुन । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय स्कूल अफ एडभान्स्ड इन्टरनेशनल स्टडिजमा समेत अध्ययन गरेका डुओ चीन र दक्षिण एसियाली देशहरूबीचको सम्बन्धबारे अध्ययन अनुसन्धानकर्ताका रुपमा सक्रिय छन् । उनका ३ पुस्तकहरू र दर्जनौँ अनुसन्धानात्मक लेखहरु प्रकाशित छन् ।

प्रस्तुत छ, चीन–नेपाल सम्बन्धको ७०औँ वर्षको अवसर पारेर भइरहेका विभिन्न कार्यक्रममा सहभागिता जनाउन काठमाडौँ आएका निर्देशक डुओसँग नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा केन्द्रित रही राष्ट्रिय समाचार समिति(रासस) का उपसम्पादक मधु शाहीसँग गरिएको अन्तवार्ताः

नेपाल घुम्न आइहनुहुन्छ ? के कुराले यहाँ आइरहन मनलाग्ने बनाउँछ ?

नेपाल मेरो दोस्रो घर होभन्दा पनि हुन्छ । अहिलेसम्म लगभग २० पटकभन्दा बढी नेपाल आएको छु । अध्ययन अनुसन्धान गर्ने कामदेखि विभिन्न शैक्षिक गोष्ठी, सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी भइरहेको हुन्छु । त्योभन्दा पनि नेपालको प्राकृतिक सौन्दर्यले मलाई पटकपटक तानिहरन्छ । मैले नेपालका विभिन्न स्थानहरु घुमेको छु । काठमाडौँ बाहिर जनकपुर, चितवन, लुम्बिनी, पोखरा, मनाङ लगायताका ठाउँहरुमा पुगेको छु । सबैको आ–आफ्नै विशेषताहरु छन् । तथापि लुम्बिनी मेरो मन पर्ने ठाउँमध्ये पर्दछ । यो भगवान् गौतम बुद्धको जन्मस्थल भएकाले पनि महत्वपूर्ण छ । बौद्ध धर्मसँगको नाता धेरै पुरानो हो चीनको । त्यहाँ गएर केही समय बिताउँदा मन शान्त हुन्छ ।

नेपाल घुम्न आउने पर्यटकमध्ये चिनियाँ पर्यटकको सङ्ख्या ठूलो छ । पर्यटन क्षेत्रमा नेपालले के–कस्ता सुधार गर्नसके चिनियाँ पर्यटकको आकर्षण बढाउन सकिएला ?

नेपाल प्राकृतिक रुपमा सुन्दर त छँदैछ । त्यसबाहेक विश्वसम्पदा सूचीमा रहेका विभिन्न दरबार क्षेत्रहरु, विशवकै सर्वोच्च शिखर सगरमाथा, विभिन्न राष्ट्रिय निकुञ्जहरु, अनि यहाँको संस्कृति आफैँमा बेजोड छ । खासगरी लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल भएकाले चिनियाँ नागरिकहरुको आकर्षणको केन्द्र बनेको छ । मैले घुमफिरका क्रममा देखेको लुम्बिनी भौतिक संरचनामा ठिकै छ तर त्यहाँको सांस्कृतिक भावना आदानप्रदान गर्ने विषयमा पर्यटक लक्षित अझै हुन सकेको छैन । उदाहरणका लागि, एकपटक मेरा एक साथीलाई लिएर लुम्बिनी घुम्न गएका थियौँ ।

उनले फर्किने बेलामा लुम्बिनीको अध्यात्मिक र मौलिक उपहार के लैजाने ? भनेर बजार घुम्दा केही नयाँ चिज पाइएन । र अन्तिममा लुम्बिनीमा रहेको पिपलको रुखबाट खसेका केही पातहरु बटुलेर चिनोको रुपमा लिएर गए । नेपालले पर्यटकलाई मौलिक उपहार के दिएर फर्काउन सकिएला ? भन्ने तिर सोच्नसके व्यापार व्यवसाय पनि वृद्धि हुने र पर्यटक पनि खुसी हुने थिए । त्यस्तै, नेपाल भ्रमणमा पर्यटकले अन्य देशको तुलनामा निकै महँगोमा टिकट किन्नुपर्छ । टिकटमा सहुलियत हुनसके नेपाल भ्रमणमा आउने चिनियाँ नागरिकको सङ्ख्या निकै नै बढ्ने सम्भावना देख्छु ।

पछिल्लो समय दुई देशबीच उच्चस्तरीय भ्रमणहरु बाक्लिँदै गएका छन् । यसले कूटनीतिक सम्बन्धमा कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ?

कुनै पनि मुलुकको सम्बन्ध प्रगाढ बनाउन भेटघाट र निरन्तर संवाद हुनु जरुरी छ । यसले एकअर्काको भावनात्मक सम्बन्धलाई अझै बढी मजबुद बनाउन मद्दत गर्छ । कूटनीतिक रुपमा उच्चस्तरीय तहमा सरकार प्रमुखहरु वा राज्य प्रमुखहरुका बीच समयसमयमा भेटघाट हुनु त स्वाभाविक नै छ । त्यसबाहेक, नागरिकहरुबीचको सम्बन्ध पनि बाक्लिँदै गएको छ । यसले एकअर्कालाई राम्ररी बुझ्नका लागि मद्दत गर्दछ । चिनियाँ समाजलाई बुझ्नका लागि दुवै देशका विद्यार्थीहरुको आवतजावतले सहयोग गरिरहेको छ । पश्चिमा मुलुकका सञ्चारमाध्यमले चीनका बारेमा जुनप्रकारले व्याख्या गरिरहेका छन्, त्यो बुझाई गलत हो भन्ने कुरामा उनीहरु विश्वस्त हुँदै गएका छन् ।

नेपाल–चीनको कूटनीतिक सम्बन्ध विस्तार भएको ७० वर्ष पुग्यो । अब नेपाल र चीनको सम्बन्ध कुन दिर्शातर्फ अग्रसर भएको देख्नुहुन्छ ?

नेपाल र चीन कूटनीतिक सम्बन्ध सन् १९५५ अगस्ट १ देखि सुरु भएको हो । विगतदेखि नै यी दुई देशबीच सहअस्तित्व, सहकार्य, सम्मानपूर्ण र मैत्रीपूर्ण सम्बन्ध विस्तार हुँदै आएको छ । अहिले अगस्ट महिनाभरि नेपाल र चीनले कूटनीतिक सम्बन्ध विस्तार गरेको ७० वर्षको उत्सव मनाइरहेका छाँै । अब आगामी वर्षलाई अझै कसरी स्वर्णिम र प्रगाढ बनाउने विषय महत्वपूर्ण हो । मेरो विचारमा नेपाल र चीनको सम्बन्ध दीर्घकालीन र परिणाममुखी बनाउन नेपालको राजनीति स्थायी हुन जरुरी हुन्छ ।

यहाँको विकासले मूर्तरुप लिनका लागि स्थायी नेतृत्व आवश्यक छ । त्यस्तै, यहाँको जलविद्युत् परियोजनाहरुमा सहकार्य गर्न सकिन्छ । त्यस्तै, अबको समय आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को भएकाले डिजिटल साझेदारीमा पनि नेपालले सम्बन्ध अर्थपूर्ण बनाउने अर्को आधार देखेको छु । नेपालले भर्खरै एआई नीति ल्याएको छ, जुन सकारात्मक छ । चीनले यस क्षेत्रमा निकै नै प्रगति हासिल गरिसकेकाले नेपालले पनि चीनबाट प्रविधि सिक्न सक्छ ।

नेपाल–चीनको कूटनीतिक सम्बन्ध प्रगाढ बनाउने राजनीतिक, आर्थिक, शैक्षिक, समाजिक, सांस्कृतिकलगायत विभिन्न आधारहरुमध्ये कुन आधार बढी प्रभावकारी देख्नुहुन्छ ?

तपाईंले भनेजस्तो राजनीतिक, आर्थिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिकलगायत सबै आधारहरुले नै दुई देशको कूटनीतिक सम्बन्ध बलियो बनाउँछन् । यी सबै बुँदा एकअर्कासँग अन्तर सम्बन्धित छन् । यद्यपि, मेरो विचारमा आर्थिक विकासको साझेदारीले अरु क्षेत्रको समृद्धिमा समेत टेवा पु¥याउन सक्छ । आर्थिक विकास र गरिबी न्यूनीकरणका सन्दर्भमा चीन आफूले जानेको कुराहरु नेपाललाई बाँड्न चाहन्छ ।

नेपालमा निकै चासोका साथ चीनको बेल्ड एण्ड रोड(बिआरआई) परियोजनालाई लिने गरिएको छ । यसबारे तपाईंको धारणा के छ ?

नेपाल भू–परिवेष्ठित देश भएकाले यहाँ बाहिरी कनेक्टीभिटी विस्तार गर्न अति महत्वपूर्ण छ । चीनको बेल्ड एण्ड रोड इनिसिएटिभ(बिआरआई) परियोजनाले वास्तवमा कनेक्टिभिटी विस्तार र यहाँको विकास सहयोगी बन्न सक्छ । तर बिआरआईका परियोजनाहरु जुन रुपमा अगाडि बढ्नुपर्ने हो, त्यो रुपमा बढ्न नसक्नुको पछाडि यस क्षेत्रमा बढ्दै गएको भू–राजनीतिक अवस्था पनि एउटा कारण हुन सक्छ । विकासका सन्दर्भमा सबै राजनीतिक दलहरु एक ठाउँमा आउन जरुरी छ ।

नेपाल दुई शक्तिशाली छिमेकी देशबीच रहेको तुलनात्मक रुपमा सानो देश हो । यी ठूला राष्ट्रहरुबीचको सन्तुलन कायम गर्न नेपालले के–कस्ता रणनीति अपनाउनुपर्ला ?

तपार्इंले भने जस्तै नेपाल दुई शक्तिशाली देशबीचको भौगोलिक हिसाबले सानो देश हो । तर, यसको आफ्नै अस्तित्व, सार्वभौमसत्ता र अलग्गै पहिचान छ । चीन र भारतबीचको छिमेकी सम्बन्ध सन्तुलन गर्न केही चुनौती नेपालले महसुस गरेको हुनसक्छ । मेरो विचारमा नेपालले छिमेकी मुलुकहरुबीच सदाचार र सहकार्यको भावना राखे खासै ठूलो समस्या होइन । सहकार्य गर्नका लागि सन्तुलन कायम गर्नुपर्ने समस्या हो जस्तो लाग्दैन । यस्तो कूटनीतिक अभ्यास नेपालले गर्दै आइरहेको पनि देखिन्छ ।

नेपाली विद्यार्थीहरु चीनमा अध्ययन गर्न जानेक्रम बढ्दो छ । ती विद्यार्थीहरुले दुई देशको सम्बन्ध जोड्न कस्तो भूमिका खेल्न सक्छन् ?

पछिल्लो समय चीनमा नेपाली विद्यार्थीहरु अध्ययन गर्नेक्रम बढ्दो छ । यो हाम्रा लागि सुखद पक्ष हो । विभिन्न तालिम, सेमिनार र छलफलमा भाग लिने युवा जमात तीव्र छ । विद्यार्थीहरु ज्ञान र संस्कृति आदानप्रदान गर्ने महत्वपूर्ण स्रोत भएकाले शैक्षिक विकासले दुवै देशको सम्बन्ध जोड्न मद्दत गर्छ । एकअर्कालाई बुझ्न पनि यस्तो खालको गतिविधिहरु आवश्यक छ ।

अन्त्यमा, नेपालको कुन पक्ष तपाईंलाई सुन्दर लाग्छ ?

नेपाल प्राकृतिक, सांस्कृतिक, धार्मिक हिसाबले सुन्दर छ । यससँगै अर्को रोचक पक्ष यहाँको बहुआयामिक समाज हो । यहाँको समाजमा खुला रुपमा गरिने वैचारिक बहस, छलफल र अन्तक्रियात्मक संस्कृति मलाई राम्रो लाग्छ ।

बक्यौता माग्दै किसानहरु उखु बोकेर माइतीघरमा बसे धर्ना, तस्बिरहरू

काठमाडौँ । बक्यौता माग्दै किसानहरू उखु बोकेरै राजधानीको माइतीघरमा धर्नामा बसेका छन् । प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गर्दै किसानहरू आइतबारदेखि धर्नामा बसेका हुन् ।  आर्थिक वर्ष ०८१/०८२ को उखुको बक्यौता भुक्तानी हुनुपर्ने उखु उत्पादक महासंघ नेपालको भनाइ छ ।

आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरूको भनाइ छ ।

अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू सांकेतिक रूपमा उखु बोकेरै माइतीघर मण्डलामा भेला भएका छन् ।

 

दुर्घटनामा घाइते सामाजिक अभियन्ता खत्रीको मृत्यु

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शान्तिनगरका सामाजिक अभियन्ता विष्णु खत्रीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते खत्रीको उपचारका क्रममा काठमाडौं आइतबार बिहान निधन भएको हो ।

पृथ्वीराजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बन्केवाचोकमा जिपको ठक्करबाट घाइते खत्रीको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पतालमा निधन भएको हो ।

बेलचौताराबाट दुलेगौडा आउँदै गरेको ग९प ३९९२ नम्बरको मोटरसाइकलमा सवार खत्रीलाई विपरीत दिशाबाट आउँदै गरेको ग३च ३१९ नम्बरको जिपले ठक्कर दिएको थियो ।

घाइते खत्रीलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौं पठाइएको थियो ।

 

इजरायलबाट फर्केका विपिन जोशीका परिवार राष्ट्रपति भेट्न पुगे

काठमाडौँ । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीकी आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेल सँग भेट गरेका छन् ।

इजरायल पुगेरक फर्केकी विपिनका आमा पद्मा र पुष्पा जोशीले आइतबार राष्ट्रपति पौडेललाई भेटेका हुन् ।

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले इजरायल पुगेर त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए ।

विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको जनाउँदै यो विषय अन्तरराष्ट्रियस्तरमा पुगेको बताए । उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि सबैलाई आग्रह गरे ।

आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले रिहाइका लागि पहल गर्न आग्रह गरिन् । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए ।

खोटाङको साकेलामा श्रमदान अभियान

खोटाङ। साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ । अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको बोटबिरुवा हटाउने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने तथा सडक आसपास विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्नेलगायत काम थालिएको हो ।

गाउँपालिका अध्यक्ष रविप्रकाश राईसहित श्रमदान अभियानमा स्थानीय नागरिक पनि प्रत्यक्ष जोडिएर सफा र सुन्दर पालिका निर्माण अभियानमा जुटेका छन् । गाउँपालिकामा उपलब्ध उपकरण र केही प्राविधिक तथा कर्मचारीको साथमा दिनहुँ जनश्रमदान गरिरहेका छन् ।

अध्यक्ष राईले  स्थानीय नागरिकलाई आवतजावतमा सास्ती नहोस् भन्ने हेतुले केही कर्मचारीको साथमा कहिले मुख्य त, कहिले शाखा सडक मर्मत गरिरहेको बताए ।

साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक, बाँझेच्यानडाँडा–रतन्छा–मानेभञ्ज्याङ सडक, कात्तिके–सोस्तुङ–रतन्छा नैनेपाटी सडकलगायत पालिकाभित्रका बजार, उद्यान, कार्यालय र सार्वजनिक स्थलको सरसफाइ गर्नुका साथै उक्त स्थानमा विभिन्न प्रजातिका बोटबिरुवा रोपिएका छन् ।

अभियानमा उपाध्यक्ष बिर्सिका राई र वडाध्यक्षको सहभागिता रहेको छ ।

प्रचण्डले बोलाएको पदाधिकारी बैठक स्थगित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक फेरि स्थगित भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए ।

 दिउँसो २ बजे पार्टी मुख्यालय पेरिसडाँडामा तय गरिएको बैठकमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान, समसामयिक राजनीतिक घटना, एकताबाट आएकाहरूको जिम्मेवारीलगायतको एजेण्डा थिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्थताका कारण बैठक स्थगित गरिएको जानकारी आएको श्रेष्ठले बताए । यसअघि बिहीबार बोलाइएको बैठक समेत स्थगित भएको थियो ।

वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

काठमाडौं। वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ ।

ती कार्यका लागि घुम्ती सवारीसाधनसहितको टोली परिचालन गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ ।

विभागका महानिर्देशक रामकुमार श्रेष्ठले हैजा रोगको सङ्क्रमण पुष्टि भएका क्षेत्रमा खानेपानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक सामग्रीसहितको टोली खटिएको र आवश्यक थप सामग्री आज पठाउन लागिएको जानकारी दिए ।

उनले भने, ‘हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न तत्कालै सवारी साधनसहितको घुम्ती टोली खटाएका छौँ । पानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक पर्ने थप सामग्री आज पठाइँदै छ ।’

वीरगञ्जमा शुक्रबार तीन जनामा हैजा रोगको सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

देउखुरी।  दाङमा टिपर र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आज बिहान ६ः०० बजे आसपासमा चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना८ख ८२५९ नम्बरको टिपर र प्यूठानबाट चन्द्रौटा जाँदै गरेको लु३९प ८३९० नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार प्यूठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षे सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए । थापाको भालुबाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोही ठाउँका मोटरसाइकल चालक २२ वर्षे प्रचण्ड थापा भने घाइते भएको प्रहरीको भनाइ छ । हाल उनको भालुबाङ अस्पतालमा सामान्य उपचारपछि बुटवल पठाइएको प्रहरी निरीक्षक बमले बताए ।

मृतकको शव परीक्षणका लागि लमही अस्पताल पठाइएको छ भने टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँचौं अन्तर्राष्ट्रिय युवा फोरम संयुक्त राष्ट्र संघको सम्मेलन सम्पन्न,नेपालको जलवायु परिवर्तन मुख्य एजेण्डा

काठमाडौँ । मानवअधिकार र दिगो विकास लक्ष्य (Sustainable Development Goals) सम्बन्धी छलफल, आदान–प्रदान र समाधान खोज्ने उद्देश्यका साथ पाँचौँ संस्करणको पाँचौं अन्तर्राष्ट्रिय युवा फोरम हालै थाइल्यान्डको बैंककस्थित संयुक्त राष्ट्र संघको ESCAP हलमा सम्पन्न भएको छ।

जहाँ नेपाल देखी काठमाडौं महानगर प्रतिनिधि सँगै 25 जना सँगै ६२ देशहरूबाट ३५० भन्दा बढी प्रतिनिधिहरू सहभागी. भएका थिय यसपटकको फोरममा जलवायु परिवर्तन, नैतिक कृत्रिम बुद्धिमत्ता, लैंगिक समानता, शिक्षा–नवप्रवर्तन, मानव अधिकार प्रवर्द्धन र वैश्विक साझेदारीलाई मुख्य एजेन्डा बनाइएको थियो।

यसपटकको फोरममा विश्वभरका युवा, नीति–निर्माता, राजदूत, मानवअधिकार कार्यकर्ता तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।यस सम्मेलनमा युवाहरूले सामना गरिरहेका चुनौतीहरू शान्ति र मानवअधिकार, लैङ्गिक समानता, वातावरणीय संकट, जलवायु परिवर्तन, सामाजिक समावेशीकरण, तथा दिगो विकास लक्ष्य (SDGs) कार्यान्वयन जस्ता महत्वपूर्ण विषयहरूलाई केन्द्रमा राखी छलफल गरिएको थियो।

सस्टेनेबल डेभलपमेन्ट काउन्सिल द्वारा आयोजित र संयुक्त राष्ट्र संघका निकायहरू, सरकारका प्रतिनिधिहरू तथा नागरिक समाजका अगुवाहरूको सहयोगमा सम्पन्न यो कार्यक्रमले युवा नेतृत्वमा आधारित विश्वव्यापी अभियानमा नयाँ उचाइ थप्यो।एशिया, अफ्रिका, युरोप, अमेरिका र प्यासिफिक क्षेत्रका आवाजहरू एकत्रित भई जलवायु परिवर्तन, नैतिक कृत्रिम बुद्धिमत्ता, लैङ्गिक समानता, र समावेशी शासनजस्ता महत्वपूर्ण विषयहरूमा विचार आदानप्रदान गरियो।

२०१७ मा काठमाडौं, नेपालबाट सुरु भएको अन्तर्राष्ट्रिय युवा फोरम राहुल के सि ले सञ्चालक गरेँको यस सस्था ले विश्वव्यापी युवा नेतृत्वको मञ्च बन्न सफल भएको वर्षको बिभिन्न देशका राजदुतको भानाइ छ सह–संस्थापक राहुल के.सी. ले भने, “काठमाडौंमा सपना देखिएको यो मञ्च आज संयुक्त राष्ट्र संघसम्म पुगेको छ। यो केवल सम्मेलन मात्र होइन, अभियान हो जसको प्रभाव बैंककभन्दा टाढासम्म फैलिनेछ।”

सुनचाँदीकै मूल्यमा उच्च वृद्धि

काठमाडौँ । स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा रु दुई हजार ३०० र चाँदीमा रु ४० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार ५०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५० मा खरिदबिक्री भइरहेको छ ।

शुक्रबार एक तोला सुन रु एक लाख ९५ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३१० मा क्रयविक्रय भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

धुन्चे श्याफ्रुबेशी सडकखण्ड अन्तर्गतको आकर्षक बाह्र घुम्ती सडक, यस्तो देखिन्छ तस्बिरमा

काठमाडौं । छिमेकी देश चीनसँग जोडिने धुन्चे श्याफ्रूबेशी सडकखण्ड अन्तर्गत सानोभार्खु स्थित बाह्र घुम्ती सडक सो बाटो भएर यात्रा गर्नेहरूका लागि आकर्षक सडकको रुपमा रहेको छ ।

आकर्षक बाह्र घुम्ती सडक रहेको हुनाले अहिले यात्रुहरुले फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने समेत गरेको पाइन्छ ।
सडक आकर्षक भए पनि खाल्डाखुल्डी, काँही पहिरो गएको हुनाले यात्रा गर्न भने जोखिम नै रहेको स्थानीयले बताए ।

सोही सडक हुँदै नेपाल चीन सिमा रसुवागढी र लाङटाङ उपत्यका पुगिन्छ ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी ।

 

भियतनामकी उपराष्ट्रपति सुआन र उपराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ ।  शनिबार काठमाडौं आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेकी हुन्।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुआनलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए।

उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

शनिबार नेपाल आएकै दिन उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन्। मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्न प्रस्ताव राखेकी थिइन्। यसो हुनसके भियतनामबाट नेपाल भित्रिने पर्यटकहरुको संख्या बढाउन सकिने नेपालको विश्वास छ।

उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने र पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप लगायतका स्थान भ्रमण गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि उनी स्वदेश फर्किनेछिन्।

रौतहटमा सुटकेशभित्र फेला परेको शवको पहिचान खुल्यो

रौतहट । रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ। प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहको हो।

स्थायी ठेगाना माधवनारायण–६ मधोपुर, घर भारतको बिहार मुजफ्फरपुर भए पनि उनी हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। मृतक रुबीको चार वर्षको एक छोरा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारीअनुसार रुबीका श्रीमान शिव कुमार साह ९३५० भारत, बिहार, मुजफ्फरपुर जिल्ला सकरा बेल निवासी तथा साधु शरण साहका छोरा हुन्। मृतक रुबी देवी साह, रौतहट माधवनारायण नपा–६ बस्ने राम विनोद साह मण्डलकी धर्मपत्नी अन्दाजी ५० वर्षीया सुनिच्छा देवीकी छोरी हुन्।

शनिबार राति करिब साढे १० बजेतिर सडक किनारमा डोरीले बाँधिएको अवस्थामा भेटिएको सुटकेश खोलेपछि अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। प्राथमिक रूपमा शवसँगै भेटिएका साडी र चुराका आधारमा महिला भएको अनुमान गरिएको थियो।

शवलाई रस्सीले बेरिएको अवस्थामा सुटकेशमा राखिएकाले हत्या गरी फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। मुचुल्कापछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको डिएसपी कार्कीले जानकारी दिए ।

घटनाबारे सत्यतथ्य पत्ता लगाउन प्रहरीले नजिकैको विद्यालयमा जडान गरिएको सिसीटिभी फुटेज संकलन गरेको छ भने मृतकको मोबाइल कल डिटेल निकाल्ने तयारी भइरहेको जनाएको छ।

सङ्घीय मामिला तथा सामान्य मन्त्रालयमा गुनासो सुनुवाइ केन्द्र स्थापना

दमौली । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जिम्मेवारी इमानदारिताका साथ पूरा गर्ने बताएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) शुक्लागण्डकी नगर कमिटीले आज दुलेगौडामा आयोजना गरेको स्वागत कार्यक्रममा उनले विशेष परिस्थितिमा प्राप्त यो जिम्मेवारी इमानदारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

मन्त्री न्यौपानेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नीतिगत रूपमा चल्ने मन्त्रालय बनाउने प्रमुख जिम्मेवारी रहेको उल्लेख गरेकी छिन् । मन्त्रालयको काम कर्मचारी सरुवा बढुवामात्र हो कि भन्ने रहेकामा त्यसलाई चिर्दै सङ्घीय व्यवस्थालाई सुदृढ बनाउने काम पनि मन्त्रालयको रहेको बताएकी हुन्।

मन्त्री न्यौपानेले कर्मचारी र सेवाग्राहीको गुनासो सुनुवाइका लागि मन्त्रालयमा गुनासो सुनुवाइ केन्द्र स्थापना गरिएको बताउँदै त्यहाँबाट गुनासो सुनुवाइ हुन थालेको बताएकी छिन् ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटीका उपसचिव खिमबहादुर कुमाल, शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष रघुनाथ पौडेललगायतले मन्त्री न्यौपानेलाई सफलताको शुभकामना व्यक्त गरेका थिए।

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

टक्सार(भोजपुर), । अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । दाताहरूको सहयोगबाट आएको रु ९० हजार नगदबाट भोजपुर नगरपालिकाभित्रका ती विद्यार्थीलाई शनिबार पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको हो ।

नवोदय संस्था भोजपुरले छनोट गरेका विद्यार्थीलाई कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सृजना राईले छात्रवृत्तिका सामग्री वितरण गरेका छन् । कक्षा १ देखि ९ सम्मका छात्रछात्रालाई छनोट गरी नौ विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्रीसहित पोशाक वितरण गरेको संस्थाका सचिव यदु सुवालले जानकारी दिएका छन् । नगरपालिकाभित्रका मावितर्फ विद्योदय मावि, यशोधरा मावि, लक्ष्मी मावि, सिद्धेश्वर माविसहित जनकल्याण आधरभूत विद्यालय, जगदिश्वरी आवि, पञ्चकन्या आवि, जनसेवा आवि र पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले शैक्षिक सामग्री पाएका सचिव सुवालले जानकारी दिए ।

हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका दम्पती ईश्वर श्रेष्ठ र सावित्री जोशीबाट रु ३० हजार, डा सुन्दर मोहन प्रतिष्ठानबाट रु २० हजार, मदनप्रसाद श्रेष्ठ र देवी श्रेष्ठबाट प्राप्त रु २० हजार र खड्गबहादुर इन्द्रकुमारी श्रेष्ठबाट प्राप्त रु २० हजार स्कुल पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको छ ।

कोशी प्रदेशका राज्यमन्त्री राईले अभिभावकविहीन विद्यार्थीलाई गरिएको शैक्षिक सामग्री वितरणले अध्ययनमा मद्दत गरेको बताउँदै त्यस्ता विद्यार्थीको लगत सङ्कलन गर्नुपर्ने बताए । अभिभावकविहीन बालबालिकका लागि पनि प्रदेशस्तरमा विभिन्न संस्था खुलेकाले त्यसमार्फत पालनपोषण र अध्ययनको व्यवस्था गर्न सकिने बताएका छन् ।

अभिभावकविहीन, विपन्न बालबालिकालाई राज्यले नै आवासीय विद्यालयसहित अध्ययनको व्यवस्थापन गर्नुपर्ने भए पनि त्यो नहुँदा बालबालिकालाई दाता खोजेर सहयोग गर्नुपर्ने अवस्था आएको विद्योदय माविका प्रधानाध्यापक खोमराज धमलाले बताएका छन् । आमाबाबुको माया नपाएका बालबालिकालाई विशेष ध्यान दिनु जरुरी रहेको उनले बताएका हुन्।

पाँच वर्षदेखि पुल निर्माण अधुरै

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ ।

दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी रु आठ करोडमा उक्त पुल निर्माण गर्न सूर्य जेभी निर्माण कम्पनीले जिम्मा पाएको थियो । विसं २०७८ चैत २३ गते तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले जुगल गाउँपालिका–१ र ५ जोड्ने ६३ मिटर लामो पुलको शिलान्यास गरेका थिए ।

जुगल गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठका अनुसार स्थानीय सरकारले पटकपटक निर्माणकार्य अघि बढाउन आग्रह गरे पनि निर्माणमा संलग्न व्यवसायीले बेवास्ता गरिरहेको छ । उनका अनुसार पुल बनेपछि साविकको सेलाङ र गोल्चे गाविसका बासिन्दा लाभान्वित हुनेछन् । मुख्य ठेकेदारले पेटी ठेकेदारलाई निर्माणको काम जिम्मा दिएर ठेकेदार सम्पर्कविहीन हुँदै आएको उपाध्यक्ष श्रेष्ठ बताए ।

निर्माणको जिम्मा पाएको सूर्य जेभी निर्माण कम्पनीका प्रोपाइटर गणेश आर्चाय ‘ड्रइङ डिजाइन’को ‘एप्रुभ’ भइसके पनि चरिकोट डिभिजन कार्यालयले भिओ नबनाइदिएको कारण काम सुरु नभएको बताएका छन् । “हामी पुलको काम तत्कालै गर्न चाहन्थ्याँै तर सडक डिभिजन कार्यालय चरिकोटले भिओ नबाइदिएको कारण काम गर्न गाह्रो भयो”, उनले भने । सडक डिभिजन कार्यालय चरिकोटले दुई वर्षदेखिको बिल भुक्तानी नगरेको उनको दाबी छ ।

पुलको बीचको पिलर १० इन्च फरक परेको र सोको ड्रइङ पुनः निर्माण गरेर एप्रुभ भइसकेकाले भिओ र बिल भुक्तानीको काम नरोकिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख आकाश श्रेष्ठ बताएका छन् ।

जुगल गाउँपालिका–५ का वडाध्यक्ष रवीन्द्र घिमिरे पुल निर्माण अघि नबढ्दा जनताले सास्ती भोग्नुपरेको बताएका छन् । नदी वारिपारि गर्न झोलुङ्गे पुल भए पनि जीर्ण भएकाले जोखिम रहेको उनले बताएका छन्।

आँबुखैरेनीमा चेपाङ समुदायका छात्र/छात्रालाई निःशुल्क शिक्षा

तनहुँ । आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ)ले छात्रवृत्तिमा कक्षा १२ उत्तीर्ण भएका छन् । उनीलाई आबुखैरेनी गाउँपालिकाले शैक्षिकसत्र २०८१ मा आँबुखैरेनीस्थित रामशाह माध्यमिक विद्यालयमा सो तह अध्ययन गर्न आर्थिक सहयोग गरेको थियो । छात्र चेपाङले केही दिनअघि सार्वजनिक भएको सो तहको परीक्षामा उत्तीर्ण भएका हुन् ।

गाउँपालिकाले खाना, बस्नका लागि मासिक रु पाँच हजारका दरले वार्षिक रु ६० हजार सहयोग गर्दै आएको शिक्षा शाखा प्रमुख निर्मला कुवँरले जानकारी दिएका छन् । गाउँपालिकामातहत रहेका २४ सामुदायिक विद्यालयमध्ये २२ मा पूरै तहमा निःशुल्क शिक्षाको व्यवस्था गरेको उनले बताएका छन् ।

उनले भनेकाछन् “रामशाह र मित्रता माविमा कक्षा ५ सम्म पूरै निःशुल्क गरिएको छ । कक्षा ६ देखि माथि नेपाली माध्यममा निःशुल्क भए पनि अङ्ग्रेजी माध्यममा शुल्क निर्धारण गरिएको छ ।”

विद्यार्थी चेपाङको शिक्षा क्षेत्रमा देखिएको यस किसिमको उपलब्धिले सम्पूर्ण चेपाङ समुदाय र पालिकाका लागि समेत गौरवको विषय बनेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । विद्यार्थी अमृतसँग भेटघाट गर्दै अध्यक्ष उहाँले भन्नुभयो, “आगामी उच्च शिक्षाका लागि बाटो सहज बनाउन गाउँपालिकाले आवश्यक सबै सहयोग तथा पहल गर्नेछ ।”

चेपाङ, भुजेललगायत सीमान्तकृत समुदायमा शिक्षाको पहुँच विस्तार गर्ने रणनीति, छात्रवृत्ति प्रणालीलाई अझ प्रभावकारी बनाउने उपाय र समग्र विकास प्रक्रियामा सीमान्तकृत समुदायको समावेशिता सुनिश्चित गर्ने योजनाका बारेमा विमर्श गरी अघि बढ्ने योजना बनाइएको अध्यक्ष चुमानले बताएका छन् ।

रौतहटमा सुटकेशभित्र भेटियो युवतीको शव

हेटौँडा । रौतहटको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालवा मोडमा सुटकेशमा महिलाको शव भेटिएको छ ।

शनिबार राति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की सहितको टोलीले आज बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो ।

डोरीले बेरिएको सुटकेश बेवारिस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सुटकेशभित्र केही शंकास्पद बस्तु रहेको भन्दै रातभरि राखेर बिहानमात्रै सुटकेश खोलेको थियो ।

बिहान  शुटकेश खोल्दा विवाहित महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। गुलाबी रंगको कुर्तासुरुवाल लगाएकी महिलाको उमेर करिब ३५ वर्षको रहेको अनुमान गरिएको छ। महिलाको पहिचान खुलेको छैन ।

टाउकोमा गहिरो चोट देखिएको छ। सुटकेशमा केही कागजात र महिलाको सुरुवालको खल्तीमा केही नगद रुपैयाँ पनि भेटिएको छ । शव पोस्टमार्टमक लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्छः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । एमाले जिल्ला कमिटी दाङको जिल्ला प्रतिनिधि परिषद्लाई सम्बोधन गर्दै उनले पार्टी निर्माणका लागि सबैले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

महासचिव पोखरेलले एमालेमा बहुपद होइन एक पदको अवधारणा भएको र त्यसलाई कार्यान्वयन गर्दै सबैलाई अवसर प्रदान गरी सो अवसरको सफल प्रयोग गरिनुपर्ने बताए । ‘पार्टीले मलाई के दियो होइन, मैले पार्टीलाई के दिए भन्नेतिर ध्यान दिनुपर्छ । दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुपर्छ,’– उनले भने ।

महासचिव पोखरेलले पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने बताए । ‘उहाँले सामाजिक काम जति पनि गर्न सक्नुहुन्छ । तर सक्रिय राजनीतिमा आउनु शोभनीय होइन । तीज आइरहेको छ, अगुवा महिला नेतासँग अस्ति दर खानुभयो । त्यो उहाँले गज्जब गर्नुभयो,’– उनले भने ।

महासचिव पोखरेलले रास्ट्रको विकासका लागि सरकार प्रतिबद्ध भएर लागेको बताए । ‘एमाले र कांग्रेस सरकारमा भएपछि राजस्व बढेको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ, लगानीयोग्य वातावरण बनेको छ र निजी क्षेत्र उत्साहित छ,’ उनले भने, ‘विकास निर्माणमा गति आएको छ, रोकिएका आयोजना अघि बढेका छन् र सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण पनि अघि बढेका छन् ।’

यसैगरी, महासचिव पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशनको तयारी भइरहेको बताए । महाधिवेशनमा राजनीतिक, सङ्गठनात्मक र विधान संशोधनसहित तीन वटा प्रस्तावमाथि छलफल हुने उनले बताए ।

गौतमबुद्ध र पोखरा विमानस्थलमा उडानको वातावरण मिलाउन भियनामी उपराष्ट्रपतिलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज शिष्टाचार भेटवार्ता गरेका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएकी उपराष्ट्रपति भोसँग मन्त्री डा राणाले भेटवार्ता गरेकी हुन् ।

सो भेटका क्रममा नेपाल भियतनाम सम्बन्धका विविध आयामहरुका साथै द्विपक्षीय हित र आपसी चासोका विषयहरुमा कुराकानी भएको थियो । त्यस क्रममा मन्त्री डा राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्नसक्ने धारणा राखिन्।

मन्त्री डा राणले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा जोड दिइन् । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिकहरू आउने गरेको प्रसङ्ग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताइन् ।

पछिल्ला वर्षहरुमा नेपाल र भियतनामका पर्यटकहरुको सङ्ख्या उल्लेखनीय रुपमा बृद्धि भएको जानकारी दिँदै मन्त्री डा राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखिन् ।

मन्त्री डा राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गरेकी थिइन् । त्यसैगरी उनले नेपाल अगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि भियतनामसँग आग्रह गरेकी थिइन् ।

भेटमा मन्त्री डा राणाले नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा उपराष्ट्रपति भोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपाल र भियतनाम द्विपक्षीय र बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै आएको उल्लेख गर्दै दक्षिण(दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी एजेण्डाहरूमा आगामी दिनमा पनि सहकार्यका साथ अघि बढ्नुपर्नेमा सो भेटमा छलफल भएको थियो ।

जी ७७, नन अलाइन्मेन्ट मुभमेन्ट (नाम)का सदस्य राष्ट्रका रुपमा नेपाल र भियतनाम विकासशील देशहरुको हित रक्षाका लागि एकमत भएर काम गरिरहेको सो अवसरमा उपराष्ट्रपति भो र परराष्ट्रमन्त्री डा राणाले बताएकी थिइन् ।

पाकिस्तानमा बाढीको कहर ब्युनर र स्वातमा विनाशकारी प्रभाव

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका ब्युनर र स्वात जिल्लामा आएको तेज बाढीले जनजीवनमा भयावह असर पुर्‍याएको छ। इस्लामिक राहत संस्थाले गरेको अध्ययन अनुसार, यी क्षेत्रका करिब ६० प्रतिशत परिवारले आफ्नो जीविकोपार्जन गुमाएका छन् भने घर, खेतीयोग्य जमिन र पशुपन्छीमा पनि व्यापक क्षति पुगेको छ।

इस्लामिक राहत संस्थाको आपतकालीन टोलीले प्रभावित क्षेत्रका मानिसहरूलाई खाद्यान्न र पिउने पानी वितरण गर्दैछ। प्राप्त विवरणअनुसार, ७३ प्रतिशत घरहरू पूर्ण रूपमा ध्वस्त वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ब्युनर जिल्लामा ६० प्रतिशत र स्वात जिल्लामा ५३ प्रतिशत मानिसहरूले आफ्नो परिवार पालनपोषण गर्न असमर्थ भएका छन्। साथै, ब्युनरमा ८० प्रतिशत खेतीयोग्य जमिन बाढीले नष्ट भएको छ भने करिब आधा पशुपन्छी मरेका छन्।

स्वास्थ्य क्षेत्रमा पनि ठूलो समस्या देखिएको छ। बाढीपछि दूषित पानी र मृत पशुपन्छीका कारण पानीजन्य रोगहरू फैलिएका छन्। अध्ययनले देखाएको छ कि ४० प्रतिशत घरधुरीमा पेटका रोगहरू देखा परेको छ। सरसफाइको अवस्था अत्यन्त खराब छ र यसले स्थिति झन् जटिल बनाएको छ।

इस्लामिक राहत संस्थाका कार्यवाहक निर्देशक रजा नरेजोले बताउनुभयो, “बाढीको पानी घट्दै गए पनि यसको प्रभाव दीर्घकालीन हुनेछ। सर्वाधिक प्रभावित क्षेत्रका मानिसहरूका रोजगारी र आम्दानी स्रोतहरू लगभग एकैछिनमा नष्ट भएका छन्। ब्युनर जिल्लाका ६० प्रतिशत कामदारहरूले आफ्नो जीविकोपार्जन गुमाइसकेका छन्।”

त्यसैगरी, पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले आगामी दिनहरूमा देशका विभिन्न भागहरूमा भारी वर्षा र सम्भावित बाढीको चेतावनी दिएको छ। विशेषगरी गिलगिट–बाल्टिस्तान र खैबर पख्तुनख्वा क्षेत्रमा छिटफुट वर्षा र गडगडाहटसहितको आँधी आउने सम्भावना छ। यसका कारण बाढी, पहिरो र हिमताल फुट्ने जोखिम रहेका जिल्लाहरूमा सतर्कता अपनाउन भनिएको छ। प्रभावित जिल्लाहरूमा चितवन, डिर, स्वात, शाङ्ग्ला, मनसेहरा, बत्तग्राम, एबटाबाद, मलाकण्ड, पेशावर, चरसड्डा, नौशेरा, मरदान, टाङ्क, बन्नु र लक्की मरवात पर्छन्।

सरकार र स्थानीय निकायहरूले उच्च सतर्कता अपनाइरहेको भए पनि आगामी दिनमा स्थिति अझ जटिल बन्न सक्ने सम्भावना रहेको छ। जनजीवन र क्षतिपूर्ति पुनःस्थापनाका लागि व्यापक सहयोग र तत्काल राहत आवश्यक छ।

अफगान शरणार्थीहरूको घरफिर्ती जारी, पाकिस्तान र इरानबाट व्यापक आगमन

अफगान शरणार्थी समस्यासम्बन्धी उच्च आयोगले जानकारी दिएको अनुसार, शुक्रबारको दिनमा मात्रै एक हजार ६९३ अफगान शरणार्थी परिवार—कुल ६ हजार २०२ जना व्यक्ति छिमेकी मुलुकहरू इरान र पाकिस्तानबाट स्वदेश फर्किएका छन् ।

उनीहरूले अफगानिस्तानको विभिन्न सीमा नाकाहरूबाट प्रवेश गरेका छन्, जसमा पश्चिम हेरातस्थित इस्लाम कला नाका, पूर्व ननगहारस्थित तोर्खम नाका, दक्षिण कन्धारस्थित स्पिन बोल्दक नाका र पश्चिम निमरोजस्थित अब्रीशम नाका रहेका छन् ।

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले सन् २०२५ को सुरुदेखि अगस्ट महिनासम्म मात्रै २० लाख भन्दा बढी अफगान नागरिक इरान, पाकिस्तान तथा अन्य देशहरूबाट अफगानिस्तान फर्किएको जानकारी दिएको छ ।

अफगानिस्तानको शरणार्थी तथा पुनःस्थापना मन्त्रालयका अनुसार हाल करिब ६० लाख अफगान नागरिक विदेशमा शरणार्थीको रूपमा बसोबास गरिरहेका छन्, जसमध्ये अधिकांश अवैध रूपमा इरान र पाकिस्तानमा छन् ।

न्यायको आवाजलाई बुलन्द बनाउन नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ: मन्त्री पन्त

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले साहित्य चिन्तनले सामाजिक न्यायको आवाजलाई बुलन्द बनाउने भन्दै नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोड्न आह्वान गरेका छन्  ।
आज यहाँ आयोजित साहित्य सन्ध्या वार्षिक पुरस्कार तथा सम्मान अर्पण  समारोहमा उनले विश्वमै आर्थिक स्वार्थले न्यायको आवाज दबाइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
मन्त्री पन्तले विश्वमा भइरहेको अन्यायविरुद्धको आवाजलाई साहित्यका विभिन्न विधामार्फत उतार्न सकिने भन्दै नयाँ पुस्तालाई सिर्जनशील अभियानमा जोड्नुपर्ने आवश्यकता औल्याए । “पछिल्लो समय न्यायप्रतिको आवाज कमजोर भएको छ । हिजो विश्व जति प्रखर भएर त्यस्ता कुराको विरोध गर्दथ्यो,आज धेरै जना मौन छौँ । आर्थिक स्वार्थहरूले यी आवाज दबिरहेका छन्”, उनले भने , “साहित्य सञ्जाल सांस्कृतिक, वैचारिक र सृजनात्मक आन्दोलन हो । नयाँ पुस्तालाई यसमा जोड्न सक्नुपर्छ ।”
पछिल्लो समय मानविकी सङ्कायमा विद्यार्थीको घट्दो आकर्षणबारे चर्चा गर्दै मन्त्री पन्तले शिक्षालाई कसरी सीपमूलक, प्रविधिमैत्री र उत्पादनमूलक बनाउन सकिन्छ भन्नेमा सरकार केन्द्रित भएको बताए । “हिजोको शिक्षा बढी ज्ञानसँग जोडिन्थ्यो, आजको शिक्षा विज्ञानसँग जोडिएको छ । यसरी ज्ञान र विज्ञानको द्वन्द्वमा हामी बढी उन्नत, चिन्तनशील र श्रमशील नागरिक कसरी जन्माउँछौँ, त्यो धेरै महत्त्वपूर्ण कुरा हो”, उनले भने ।
साहित्य सन्ध्याद्वारा पाँज जना सम्मानित 
कार्यक्रममा शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा संलग्न पाँच जनालाई सम्मान गरिएको थियो । पुरस्कृत एवं सम्मानित हुनेमा स्रष्टाहरू प्रा डा कपिल लामिछाने, नवराज श्रेष्ठ, भवानी खतिवडा,  स्वास्थ्य शिक्षा तथा स्वास्थ्यसेवी डा मञ्जु दाहाल र काभ्रेको दाप्चाका विद्यार्थी सरोज अधिकारी हुनुहुन्छ ।
रु २१ हजार एक सय राशिसहितकोे साहित्य सन्ध्या पुरस्कार तथा सम्मानबाट स्रष्टा प्रा डा लामिछाने, रु पाँच हजार राशिसहित साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मानबाट श्रेष्ठ, रु १० हजार राशिसहित साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मानबाट डा दाहाल पुरस्कृत भए । यस्तै, रु १० हजार राशिसहित साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र बालकुमारी सत्याल) पुरस्कार तथा सम्मानबाट विद्यार्थी अधिकारी र रु १० हजार राशिसहित साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार तथा सम्मानबाट स्रष्टा खतिवडा सम्मानित भएका छन् ।

भारतको रक्षा क्षेत्रमा ठूलो प्रगति, लडाकु विमान इन्जिन स्वदेशमै बन्ने

भारत सरकारले लडाकु विमानका इन्जिन स्वदेशमै विकास तथा निर्माण गर्न फ्रान्सेली कम्पनीसँग सहकार्य गर्दै आएको रक्षा मन्त्री राजनाथ सिंहले जानकारी दिएका छन् ।

सिंहले यसअघि गत मे महिनामा भारतले विकास गर्न लागेको पाँचौं पुस्ताको ‘एडभान्स्ड मिडियम कम्ब्याट एयरक्राफ्ट’ ९एएमसीए० को प्रोटोटाइप स्वीकृत गरेको थिए । उनले त्यसलाई ‘भारतको आत्मनिर्भर रक्षा क्षमतातर्फको महत्वपूर्ण उपलब्धि’ भनेर उल्लेख गरेको थिए ।

शुक्रबार नयाँ दिल्लीमा आयोजित एक सम्मेलनमा बोल्दै मन्त्री सिंहले लडाकु विमान इन्जिनको स्वदेशी निर्माणसम्बन्धी थप विवरण प्रस्तुत गरेका थिए ।

उनले भनेका छन्, “हामी भारतमै लडाकु विमानका इन्जिन उत्पादन गर्न अगाडि बढिरहेका छौं । यसका लागि फ्रान्सेली कम्पनीसँग सहकार्य भइरहेको छ ।”

यद्यपि मन्त्री सिंहले कम्पनीको नाम खुलाउनु भएन, तर भारतीय सञ्चारमाध्यमहरूले यो कम्पनी सफ्रान भएको उल्लेख गरेका छन् । सफ्रान फ्रान्सको एक प्रमुख एयरोस्पेस र रक्षा कम्पनी हो, जसले विगत धेरै वर्षदेखि भारतमा विभिन्न परियोजनामा काम गर्दै आएको छ ।

तर अहिलेसम्म यो सहकार्यको औपचारिक पुष्टि भएको छैन ।

भारत, जुन विश्वकै ठूलो हतियार आयातकर्ताहरू मध्ये एक हो, आफ्ना सुरक्षाफौजको आधुनिकीकरणलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । यसै सन्दर्भमा स्वदेशमै हतियार तथा रक्षा उपकरण उत्पादनमा जोड दिँदै आएको छ ।

पछिल्लो समय भारतले पश्चिमी मुलुकहरूसँग सैन्य सहकार्य बलियो बनाउँदै आएको छ, जसमा अमेरिका, जापान र अष्ट्रेलियासँगको क्वाड गठबन्धन पनि पर्छ ।

यसै वर्षको अप्रिलमा भारतले फ्रान्सको दसोल्ट एभिएसनसँग २६ वटा रफाल लडाकु विमान खरिद गर्न बहु–अर्ब डलरको सम्झौता गरेको थियो । यसले भारतले पहिले नै खरिद गरेका ३६ वटा रफाल विमानमा थपिनेछ र रूसी मिग–२९के विमानहरूको स्थान लिनेछ ।

रक्षा मन्त्री सिंहले सन् २०३३ सम्म भित्र्याइने स्वदेशी रक्षा सामग्री खरीदका लागि कम्तीमा १०० अर्ब अमेरिकी डलर बराबरको नयाँ सम्झौता गरिने वाचा पनि गरेका छन् ।

हालैका वर्षहरूमा भारतले ठूलो हेलिकप्टर कारखाना सञ्चालनमा ल्याउनुका साथै, पहिलो स्वदेशी विमानवाहक जहाज, युद्धपोत र पनडुब्बी निर्माण सम्पन्न गरेको छ। साथै, लामो दूरीको हाइपरसोनिक मिसाइल परीक्षण समेत सफलतापूर्वक सम्पन्न गरेको छ ।

भारतको सुरक्षा दृष्टिकोणमा पाकिस्तान प्रमुख चुनौतीको रूपमा रहेको बताइन्छ । पछिल्लो मे महिनामा भारत र पाकिस्तानबीच सन् १९९९ यता कै सबैभन्दा तनावपूर्ण चारदिने सैन्य झडप भएको थियो ।

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्ग स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा स्टारलिङ्ग स्याटेलाइटहरू कक्षमा पठाएको छ ।

स्पेसएक्सका अनुसार, यी स्याटेलाइटहरू ‘फाल्कन–९’ रकेटमार्फत क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट बिहान १०ः०४ बजे (स्थानीय समय अनुसार) सफलतापूर्वक प्रक्षेपण गरिएको हो ।

‘फाल्कन–९’ एक पुनःप्रयोग गर्न मिल्ने रकेट हो, जसलाई अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले कृत्रिम उपग्रह प्रक्षेपण, अन्तरिक्षयान पठाउने र अन्तरिक्ष यात्रीहरूको ढुवानीका लागि विकास गरेको हो । यो रकेटलाई पृथ्वीको कक्षा र त्यसभन्दा परका गन्तव्यहरूमा उपयोगी सामग्री पु¥याउन प्रयोग गरिन्छ । यसको मुख्य विशेषता भनेको यसको पहिलो चरण(बुस्टर)भागलाई सफलतापूर्वक पृथ्वीमा पुनः अवतरण गराई फेरि प्रयोग गर्न सकिने प्रविधि हो, जसले प्रक्षेपण लागत उल्लेख्य रूपमा घटाउने काम गरेको छ ।

स्पेसएक्सका अनुसार, स्टारलिङ्ग परियोजनाले ती स्थानहरूमा उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ, जहाँ हालसम्म इन्टरनेट पहुँच अस्थिर, महँगो वा पूर्ण रूपमा अनुपलब्ध रहेको छ ।

आठ महिनामा तीन हजारभन्दा बढीले अवलोकन गरे चुरियामाई सुरुङमार्ग

बागमती । दक्षिण एसियाकै पहिलो मानिएको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग घुम्न आउनेको सङ्ख्या उल्लेख्य देखिएको छ । हेटौँडा उपमहानगरपालिका अनुसार आठ महिनामा तीन हजारभन्दा बढीले सुरुङमार्ग अवलोकन गरेका छन् ।

सुरुङमार्ग अवलोकनका लागि धेरैजसो विद्यार्थी आउने गरेको सुरुङमार्गको व्यवस्थापन र सुरक्षामा खटिएका उपमहानगरपालिका नगरप्रहरी प्रमुख नेत्रप्रसाद ढकालले जानकारी दिएका छन्। शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन विद्यार्थी तथा सर्वसाधारणको सङ्ख्या बाक्लो हुने उनको भनाइ छ ।

लामो समयसम्म जीर्ण रहेको सुरुङमार्ग पुनःनिर्माणपछि पर्यटकका लागि खुला गरिएको हो । कूल रु चार करोड ५७ लाखमा प्रदेश यातायात पूर्वाधार निर्देशनालयले सुरुङको पुनःनिर्माण गरी व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । सुरुङमार्ग विसं २०८१ पुस ८ गते उद्घाटन गरी सर्वसाधारणका लागि खुला गरिएको थियो ।

हेटौँडा उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख मनोजकुमार सुवेदीले पर्यटकबाट रु एक लाख १७ हजार राजस्व सङ्कलन गरिएको बताएका छन्। चालु आर्थिक वर्षको साउनमा मात्रै ४५५ जना पर्यटकले सुरुङमार्ग अवलोकन गरेको र त्यसबापत रु २० हजार ५५० राजस्व सङ्कलन भएको छ ।

सुरुङमार्ग अवलोकनका लागि नेपालीलाई प्रतिव्यक्ति रु ५०, विदेशीलाई प्रतिव्यक्ति रु १००, विद्यार्थीलाई प्रतिव्यक्ति रु २० निर्धारण गरिएको छ ।

मधेस प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने उक्त सुरुङमार्ग विसं १९७४ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो । सो सुरुङमार्गबाट विसं २०२० सम्म सवारीसाधन सञ्चालन हुँदै आएका थिए । सुरुङमार्गको विसं २०७९ वैशाख १९ गते जीर्णोद्धार सुरु भएको थियो ।

शैक्षिक उन्नयनका निम्ति सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्ने

ललितपुर । पूर्व राष्ट्रपति डा. रामवरण यादवले शिक्षित जनशक्ति नै राष्ट्रको बृहत् पूँजी भएकाले शैक्षिक उन्नयनका निम्ति राज्यका साथै निजी क्षेत्र सदैव गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले सरकार र निजी क्षेत्रको साझेदारीमा लक्ष्य हासिल गर्न सहज हुने बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ललितपुर महानगर समितिद्वारा आज जावलाखेलमा आयोजित एसइई परीक्षा २०८१ मा सर्वोत्कृष्ट अंक प्राप्त गरेका विद्यार्थीलाई सम्मान गर्दै उनले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको विकासबाट राष्ट्रको विकास गर्न सकिने बताए ।

संविधानमा स्थानीय तहले माध्यमिक तहसम्मको शिक्षाको जिम्मा लिने व्यवस्था गरिएको बताउँदै भने, “तपाईँ निजी विद्यालय सञ्चालकहरू पनि स्थानीय तह माताहतमा जान चाहिरहनु भएको छैन, नागरिकप्रति राज्यको जिम्मेवारी पूरा हुनुपर्छ, कल्याणकारी राज्यको कल्पना संविधानले गरेको छ ।”

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यस वर्ष ललितपुर महानगरले चार ‘जिपीए’ प्राप्त गरेका ८६ विद्यार्थीलाई सम्मान गरेको बताए ।

प्याब्सनका केन्द्रीय संरक्षक एवं जेम्स स्कुलका संस्थापक राजेश खड्काले अभिभावक र विद्यार्थीको अथक प्रयासबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल भएको भन्दै यो मेहनत र लगनशीलतालाई उच्चशिक्षामा पनि निरन्तरता दिन सम्मानित विद्यार्थीलाई आग्रह गरे ।

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं। इजरायलमा सशस्त्र समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । इजरायलबाट फर्किएर आमा पद्मा र बहिनी पुष्पाले शनिबार प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

उनीहरूसँगको तस्बिर प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका छन् । उनले विपिन रिहाइको पहलका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको पनि उल्लेख गरेका छन् ।

‘विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरुसँग भेट भयो । विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्कनु भएको थियो । विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन,’ प्रधानमन्त्रीले लेखेका छन् ।

 

कोशराज रेग्मी पत्रकारिता पुरस्कार कोइरालालाई

मोरङ । कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८२ नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालालाई प्रदान गरिएको छ ।

पिताम्वर–खिलेश्वरी स्मृति प्रतिष्ठान र नेपाल पत्रकार महासङ्घ मोरङले आज यहाँ आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले रु २५ हजारसहित कोइरालालाई सम्मान गरेका छन्। त्यस अवसरमा सभामुख विष्टले कोशी प्रदेश सरकारले ल्याउन लागेको प्रदेश सञ्चार प्रतिष्ठान विधेयक पत्रकारहरुको हितका लागि भएको बताएका छन् ।

यसअघि उक्त पुरस्कार महासङ्घका पूर्वअध्यक्षहरु हरिहर विरही, विष्णु निष्ठुरी र धर्मेन्द्र झाले प्राप्त गर्नु गरेका छन् ।

दिव्य पशुपतिनाथ सफाइमा प्रहरी वरिष्ठ अधिकारीसहित सयौँ सहभागी

काठमाडौँ । दिव्य पशुपतिनाथ अभियानअन्तर्गत आज नेपाल प्रहरीका उच्च अधिकारीसहित सयौँको सहभागितामा पशुपतिनाथ मन्दिर परिसर सरसफाइ गरिएको छ ।

‘क्लाइमेट स्मार्ट सिटिज’सँगको सहकार्यमा गत साउन ६ गतेदेखि हरेक शनिबार यो अभियान सञ्चालन हुँदै आएको छ । अभियानअन्तर्गत आजको श्रृङ्खलामा उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीसहित सयौँको सङ्ख्यामा नेपाल प्रहरी सफाइमा सहभागी भएका फाउन्डेसनका अध्यक्ष केपी खनालले जानकारी दिए ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले विश्वका करोडौँ हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र र पर्यटकहरूको आकर्षक गन्तव्यका रुपमा रहेको पशुपतिनाथ क्षेत्र सधैँ सफा राख्नुपर्नेमा जोड दिए । यसका लागि अभियान सुरु गरेकामा मैनादेवी फाउन्डेसन र सहयोगी सबैलाई धन्यवाद दिए ।

“मानिसको सुरु रअन्त्य धार्मिक कर्मबाटै हुन्छ । पशुपतिनाथ विश्वका रहेक हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र हो । त्यसबाहेक यहाँ आउने हरेक स्वदेशी र विदेशी पर्यटकका लागि पशुपति धार्मिक पर्यटन गन्तव्य पनि हो”, अधिकारीले भने ,“त्यसैकारण यस क्षेत्रको सरसफाइले हाम्रो पहिचान पनि झल्काउँछ । हाम्रो जीवनको अन्तिम गन्तव्यका रुपमा रहेको यस ठाउँलाई जीवन्त बनाउनु सबैको कर्तब्य हो । आज हामी पनि यसमा सरिक भएका छौँ । स्वच्छता अभियानमा सहभागी हुन अरुलाई पनि आग्रह गर्दछौँ ।”

कार्यक्रममा नेपाल प्रहरी, क्रिएसन नेपाल, फाउण्डेसनका स्वयम्सेवकलगायतको सहभागिता थियो । त्यस क्रममा ८९० किलोग्रामभन्दा बढी फोहोर सङकलन भएको अध्यक्ष खनालले बताए ।

परराष्ट्रमन्त्री राणा र भियतनामकी उपराष्ट्रपति सुआनबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । सोल्टी होटलमा परराष्ट्रमन्त्री राणा र उपराष्ट्रपतिबिच भेट भएको हो ।

समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेकी हुन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी छन् ।

उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री राणा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरेका थिए ।

भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबिच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुनेछ । उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो वर्ष नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ ।