`

एमाले देशको झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो होइन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनको महत्व औंल्याउँदै ११ औं महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गरेका छन् । उनले मतपरिणामलाई सबैले स्वीकार गरेको उल्लेख गर्दै अब पार्टी नयाँ एकताका साथ अघि बढ्ने स्पष्ट पारेका छन् ।

ओलीले भने, ‘पार्टीमा आँच आउने कुनै पनि काम हुनु हुँदैन । हामी सुदृढ अनुशासनमा बस्छौँ । अनुशासन मानव हुनुको नाताले, सामाजिक प्राणी हुनुको नाताले अनिवार्य छ । मानव जातिको झुन्डहरू समाजमा बस्न थालेपछि अनुशासनमा बाँधिन थालेको हो । अनुशासनमा बाँधिएन भने त्यो समाज हुँदैन । हामी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइनौं । हाम्रो पार्टी लोकतान्त्रिक छ र यसमा दृढ विश्वास आवश्यक छ ।’

उनले महाधिवेशनलाई सफल भएको भन्दै यसलाई पार्टीको सामूहिक प्रयासको परिणाम ठहराए । ‘यो नतिजा सिंगै पार्टीले निर्माण गरेको हो र यसलाई सिंगै पार्टीले स्वीकार गर्छ’, उनले भने । अध्यक्ष ओलीले पार्टीको नयाँ नीति अनुसार अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्दै भने, ‘हामी नयाँ एकताका साथ अगाडि बढ्छौँ। हाम्रो एक आवाज हुनुपर्छ । नीति अनुसार अघि बढ्ने क्रममा हामी आर्मीले मार्च गरेजस्तो ताल मिलाएर अगाडि बढ्नेछौँ ।’ ओलीको सम्बोधनले पार्टीभित्र अनुशासन र सामूहिक कार्यमा जोड दिन्छ, जसले एमालेको भविष्य रणनीति र कार्यशैलीमा स्पष्ट संकेत दिएको छ ।

 

 

 

 

अमेरिकाले एकै पटक ७५ नेपालीलाई गर्‍यो ‘डिपोर्ट’

काठमाडौं । अमेरिकाले एकै पटक ७५ जना नेपालीलाई ‘डिपोर्ट’ गरेको छ । अमेरिकाले शुक्रबार चार्टर्ड विमानमार्फत ६ महिलासहित ७५ जनालाई नेपाल डिपोर्ट गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार अमेरिकी विमानमार्फत नै उनीहरूलाई डिपोर्ट गरिएको हो । डोनाल्ड ट्रम्पले दोस्रो पटक अमेरिकी राष्ट्रपतिको शपथ लिएयता अमेरिकाले ४६३ जना नेपालीलाई डिपोर्ट गरिसकेको छ । यसअघि गत भदौ १९ गते अमेरिकाले यसैगरी एकैदिन ३७ नेपालीलाई डिपोर्ट गरेको थियो ।

अमेरिकाले २०८२ जेठ २५ गते पनि एकसाथ ३७ नेपालीलाई डिपोर्ट गरेको थियो । अमेरिकामा बस्नका लागि कानूनी आधार स्थापित नभएकाहरूलाई अमेरिकाले डिपोर्ट गर्दै आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइन्छ । प्रहरीको मानव बेचबिखन ब्यूरोमा लगिन्छ । इच्छुकले प्रहरीमा उजुरी दर्ता गर्न सक्छन् । डिपोर्ट भएर आएकाहरू केहीले उजुरी पनि दिएका छन् । नेपालबाट अमेरिका पठाउने मानव तस्करको जालोबारे प्रहरीले सूचना मागे पनि अमेरिकाबाट डिपोर्ट भएका नेपालीले सकभर सबै सूचना नदिने गरेको पाइएको छ ।

 

 

 

 

 

चितवन पुगे रवि, स्थलमार्गबाट भैरहवा प्रस्थान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने चितवनको भरतपुर पुगेका छन् । रिहाइको प्रक्रिया पूरा गर्न रुपन्देही जान लागेका लामिछाने प्रतिकूल मौसमका कारण सिधै उडान हुन नसकेपछि विमानबाट भरतपुर गएका हुन् । लामिछाने भरतपुरबाट स्थलगतमार्ग हुँदै केहीबेरअघि गाडीमा रुपन्देही प्रस्थान गरेका छन् । बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ।

संगठित सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने बिगोबापतको रकम बुझाएर रिहाइ गर्न माग गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए । उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । सोहीअनुसार रवि भैरहवा जान लागेका हुन् । रवि लामिछानेले भोलि (पुस ५ गते) चितवनमा सम्बोधन गर्ने भएका छन् ।

चितवन गेष्ट हाउस चौर , जिल्ला प्रहरी कार्यालय अगाडीको चौरमा बिहान ठिक ११ बजे लामिछानेले बृहत् भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नेछन् । रास्वपा चितवनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘शनिवारका दिन हाम्रा आदरणीय पार्टी सभापति श्री रबी लामिछाने ज्युद्वारा आम चितवनवासी आमाबुबा, दाजुभाइ, दिदी बहिनी तथा पार्टी पङ्क्तिका साथीहरूसँग बृहद भेटघाट तथा सम्बोधन कार्यक्रम हुने हुँदा चितवनका टोल तथा वडा तहदेखि जिल्ला तह सम्मका समितिका सम्पूर्ण साथीहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिन्छ ।’

 

 

 

जेनजी नेता पुरुषोत्तम यादव रास्वपाको समानुपातिक उम्मेदवार सूचीमा

काठमाडौं । जेनजी नेता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । सो पार्टीका प्रवक्ता मनिष झाले आज शुक्रबार उनलाई स्वागत गरेका हुन् । रास्वपाले उनलाई प्रारम्भिक समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको सूचीमा समेत समावेश गरेको छ । यादवले आफू रास्वपा प्रवेश गरेको पुष्टि गर्दै अहिले समानुपातिक सूचीमा रहनेगरी प्रवेश गरिएको भएपनि पछि प्रत्यक्ष समेत लड्न सक्ने बताएका छन् ।

यस्तै विवेकशील साझा पार्टीबाट रास्वपामा गएका समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शना, प्रकाशचन्द्र परियार, नवराज थापालगायत समानुपातिकतर्फ प्रारम्भिक सूचीमा परेको रास्वपाले जनाएको छ । रास्वपा र विवेकशील साझाबीच १४ मंसिरमा एकता भएको थियो । समानुपातिकतर्फ उम्मेदवार हुन इच्छुकहरूको प्रारम्भिक नामावली रास्वपाले गएराति सार्वजनिक गरेको थियो । समानुपातिक तर्फको अन्तिम नामावली १४ पुसमा सार्वजनिक गर्ने रास्वपाले जनाएको छ ।

अमेरिकाको ‘डीभी लटरी’ योजना स्थगित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम निलम्बन गरेका छन् । ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जानेगरी गोलीकाण्ड भएपछि ट्रम्पले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गर्ने निर्णय गरेका हुन् । हिजो बिहीबार ब्राउन युनिभर्सिटी घटनाका संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते मृत अवस्थामा फेला परेका थिए । उनी सन् २०१७ मा विविधता लटरी आप्रवासी भिसा कार्यक्रम ९डीभी० मार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड पाएका थिए ।

होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले ट्रम्पको निर्देशनमा यो निर्णय लिइएको बताइन् । ‘ग्रीन कार्ड लटरी’ ले ऐतिहासिक रूपमा कम आप्रवास दर भएका देशका नागरिकहरूलाई संयुक्त राज्य अमेरिकामा स्थायी बसोबासको लागि आवेदन दिन अनुमति दिन्छ । प्रशासनले आगामी २०२७ कार्यक्रमको लागि विविधता भिसा लटरी प्रवेश प्रक्रिया परिवर्तन गर्ने बताएको एक महिना पछि यो कदम आएको हो ।

‘विदेशिएकी महिलालाई राम्रो नजरले नहेर्ने रहेछन्’

काठमाडौं । सुनसरीको रामदुनी झुम्का–१ की सकुन्तला अधिकारीका दुई छोराछोरी पाँच कक्षामा पढ्दै थिए । श्रीमानको कमाइ थिएन । हुर्किदै गरेका सन्तानको भविष्य बनाउने सपनासहित उनी विदेशिनुपर्ने अवस्था आयो । मेनपावरमार्फत कुवेत पुगेकी अधिकारीसँग गृहिणीका रूपमा घरायसी काम र खाना पकाउने बाहेक अन्य अनुभव थिएन । के कामका लागि विदेश जाँदै छु भन्ने समेत थाहा नपाइ कुवेत पुगेको उनी सुनाउँछिन् ।

कुवेतको बसाइँ सहज भएन । दुई वर्षसम्म निकै सास्ती खेप्नुपर्‍यो, ऋण काढेर गएकी अधिकारीलाई रित्तो हात घर फर्किन सहज थिएन । केही समयपछि साथीभाइको सहयोगमा अरबीको घरमा घरेलु कामदारका रुपमा काम पाइन् । ‘राम्रो घरमा काम पाउनु भनेको निकै भाग्यको कुरा हो, त्यस्तै भाग्मानी रहेछु म । मैले काम पाएको घरका मान्छे निकै मनकारी थिए,’ उनले स्मरण गरिन्, ‘काम भने धेरै गर्नुपथ्र्यो । २४सै घण्टा काममा खट्नुपर्ने अवस्था समेत आउने ।’ अचेल अधिकारीलाई त्यति समय नेपालमै श्रम बगाएको भए पनि धेरै आर्थिक लाभ हुने रहेछ भन्ने लागेको छ । ‘वैदेशिक रोजगारीमा जानु हामी जस्ता महिलाका लागि रहरभन्दा पनि बाध्यता नै हो । विदेश गएर दुई–चार पैसा ल्याई बस्ने बास र छोराछोरी पढाउने आशमा विदेशिनुपर्ने अवस्थाका कति छन् कति’ उनी भन्छिन् । त्यही बाध्यता अधिकारीलाई पनि थियो, त्यसैले त साढे दश वर्षसम्म छोराछोरी पढाउनकै लागि चाहेर पनि उनले स्वदेश फर्किन पाइनन् । ‘घर आउने चाहना कसलाई हुँदैन र ? छोराछोरी काखमा च्याप्ने रहर त थियो नि मलाई पनि,’ उनी भन्छिन्, ‘तर, के गर्नु आउँदा जाँदा खर्च लाग्छ भनेर मन बाधेर बस्थेँ। त्यसो गर्दा गर्दै साढे दश वर्ष कुवेतमा बिताए ।’

४० वर्षीया अधिकारी जब स्वदेश फर्किन, गाउँमा पनि शान्तले बस्न पाइनन् । परिवार, समाज र आफन्तले हेर्ने दृष्टिकोण सकारात्मक भएन । उनले आर्थिक अभावभन्दा पनि यस्तै दृष्टिकोणका कारण समस्या भोगिन् । ‘छोराछोरी छोडेर विदेशिएकी महिलालाई राम्रो नजरले नहेर्दा रहेछन्, मैले धेरै नराम्रो सुन्नुप¥यो,’ अधिकारीले पीडा सुनाइन्, ‘समाज, परिवार र आफन्तको त्यही असहयोगी वातावरणले मानसिक समस्या भोग्नुप¥यो । डिप्रेसनको औषधि खानुपर्‍यो । आत्महत्या गर्ने सुर चल्यो ।’ लाञ्छनाले भरिएको गहु्रङ्गो र विक्षिप्त मन बोकेर बाँचिरहेकी अधिकारीलाई केही समय निकै गाह्रो भयो । पछि सहकर्मी र केही सकारात्मक सोच भएका मानिसमार्फत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनःएकीकरण (रेमी) परियोजनासँग जोडिइन् । ‘रेमीमा गएपछि पहिलो चरणमा आत्मबल बढाउने खालको सहयोग पाएँ, पछि आर्थिक मनोबल बढाउने सामग्री उपलब्ध गराइयो,’ अधिकारीले भनिन्, ‘डिपफ्रिज र केही व्यवसाय गर्ने सामग्री उपलब्ध भयो । त्यसैको सहयोगमा चटपटे, पानीपुरीको व्यापार र किराना पसल सञ्चालन गरिरहेकी छु ।’

त्यसपछि उनको दैनिकी फेरिएको छ । समाजका लाञ्छना पन्छाउँदै त्यही व्यापारबाट राम्रो आम्दानीसँगै स्वदेशमै सम्मानपूर्वक जीवनयापन गर्ने आधार बनिरहेको अधिकार सुनाउँछिन् । सुनसरीबाट अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन काठमाडौँ आएकी उनले आफ्नो प्रगती सुनाउँदै भनिन्, ‘वैदेशीक रोजगारमा गएर मात्रै समस्या सुल्झिन्न रहेछ । हामीले स्वदेशमै लाज नमानी काम गर्ने हो भने अर्काको देशमा दुःख गर्नु पर्दैन। परिवारसँगै बसेर सम्मानित जीवन बाँच्न सकिने रहेछ ।’ उनी जस्तै, वैदेशिक रोजगारबाट फर्केर स्वदेशमै उद्यमी बनेकी जनकपुरका नन्दु यादवको सङ्घर्ष पनि कम छैन । कतारमा १८ वर्षसम्म श्रम गरेर फर्किएकी यादवले हाल माछा तथा पशुपालन व्यवसाय गरेकी छन् । ५६ वर्षीया यादवले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘विदेश जानु नराम्रो होइन, सीप सिकेर जाँदा राम्रै हुन्छ । जाँदा सीप सिकेर गइएन भने धेरै दुःख पाइन्छ । होस् गर्नुपर्छ ।’

२० वर्षको कलिलो उमेरमा घरको आर्थिक अवस्था सुधार्न ७० हजार रुपैयाँ ऋण लिएर कतार पुगेकी उनले सोचे जस्तो कमाइ नभएको सुनाइन् । ‘ऋणको ब्याज तिर्दै विदेशको पैसा सकियो। केही रकम परिवारको आवश्यकता पूर्तिकै काममा सकियो,’ यादवले भनिन्, ‘समस्या त घर फर्किएपछि भयो । लगानी गर्न पैसा छैन। के गर्ने, कसो गर्ने भयो । पछि रेमी परियोजनाको सहयोगमा माछा तथा पशुपालन व्यवसाय सुरु गर्दा धेरै राहत भएको छ ।’

हाल उनको फार्ममा दुई जना युवाले पनि रोजगार पाएका छन् । यसले धेरैपछि कर्म गर्नेलाई स्वदेशमै पनि आम्दानीका विभिन्न अवसर रहेको भन्ने महसूस भएको यादवले सुनाइन् । ‘अर्काको देशमा नोकर बन्नुभन्दा आफ्नो देशमा साहु बनेरै कमाउन सकिँदो रहेछ । आफ्नै देशमा पैसा पनि सम्मान पनि मिल्ने। त्यसैले वैदेशिक रोजगारमा जाने सोच बनाएकाले यस विषयमा सोच्नुपर्छ भन्ने लाग्छ ।’

उनीहरू मात्रै होइन, एकपटक विदेश गएर फर्किएपछि मात्रै देशमा अवसर देख्ने धेरै छन् । यद्यपि, धेरैलाई स्वास्थ्य, समय र विविध कारणले अवसर पहिचान गर्ने अवस्था रहँदैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशन गरेको नेपाल आप्रवासन श्रमिक प्रतिवेदन २०२४ को तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जानेको संख्या बढ्दो क्रममा छ । तथ्यांकअनुसार सन् २०२२ /२३ मा नौ लाख ५४ हजार ३१९ जनाले श्रम स्वीकृति लिएका छन् भने जसमा एक लाख १३ हजार ५६ महिला श्रमिक छन् । यस्तै, सन् २०२३/२४ मा वैदेशिक रोजगारमा जानेमा सीपयुक्त जनशक्ति वृद्धि भई ६९.५ प्रतिशत पुगेको छ, तर पूर्ण दक्ष जनशक्तिको वृद्धि भने ०.४ प्रतिशत मात्रै छ ।
– मधु शाही /रासस

 

 

 

 

 

गायनबाट अभिनयतर्फ समीर

काठमाडौँ । युवापुस्ता माझ आफ्ना संगीत र गायनका कारण चर्चामा रहेका समीर श्रेष्ठले अभिनय यात्राको सुरुआत गरेका छन् । आफ्ना गीतको श्रव्यदृश्य (म्युजिक भिडिओ) मा देखिने गरेका गायक श्रेष्ठले चलचित्र ‘रमिताको पिरती’ मार्फत अभिनय यात्राको सुरुआत गर्दैछन् । कलाकारितामा इच्छा भएकाले नै अभिनयमा आफू आएको गायक श्रेष्ठले बताए ।

उनले भने ‘मैले अभिनय गर्ने सोच बनाएको थिएँ । तर, सही समय र पटकथा पाउन सकेकी थिएन् । मलाई अभिनेता बन्ने प्रस्ताव आउँदा पहिलो कुरा टोली राम्रो लाग्यो अनि विषयवस्तु पनि । सबै कुरा भने जस्तो भएपछि किन पर्खिने भनेर अभिनय यात्रा प्रारम्भ गरेको हुँ ।’ श्रेष्ठले अभिनेता बने पनि गायन र संगीतलाई नछाड्ने बताए । ‘मेरो पहिचान गायनले दिएकाले त्यसलाई छाड्ने वा रोक्ने भन्ने नै छैन । मेरो सक्रियता अभिनयमा पनि हुन्छ, तर गायन मेरो मुख्य पेसा हो । मलाई गायनमाझैं अभिनयमा पनि माया गर्नु हुनेछ भन्ने अपेक्षा राखेको छु’, गायक श्रेष्ठले भने ।

सुदिप्ताले निर्देशन गरेको उक्त चलचित्रमा गायक श्रेष्ठसँगै आना शर्मा, धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारले अभिनय गरेका छन् । उक्त चलचित्रको पटकथा निर्देशक सुदिप्ताले नै तयार पार्नुभएको हो भने शिशिर विशङ्खेले छायाङ्कन, सुनिल सिवाकोटीले सम्पादन र कृतिका बरालले नृत्य निर्देशन गरेका छन् ।

पछिल्लो समय निर्माण भइरहेका भन्दा फरक विषय र प्रस्तुतिकरण भएकाले नयाँ पुस्तालाई यो चलचित्रले आकर्षण गर्ने वितरक करण श्रेष्ठले बताए । उनले भने ‘नयाँ अनुहारलाई लिएर तयार गरिएकाले पनि यो चलचित्र युवापुस्ताका लागि नयाँपन दिने बन्नसक्छ । यसको विषय र प्रस्तुतिकरणले विशेषतः युवापुस्तालाई चलचित्र भवनसम्म ल्याउँछ भन्ने हाम्रो विश्वास छ ।’ उक्त चलचित्र आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

 

 

 

 

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल नियुक्त

काठमाडौं । नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ । सन् २०१७ देखि नेपालका लागि डेनमार्कका वाणिज्यदूत रहेका धरेललाई डेनमार्क सरकारको प्रस्तावमा परराष्ट्र मन्त्रालयले हालै महावाणिज्यदूतमा पदोन्नति गरेको हो । नेपालको अनररी कन्सलसम्बन्धी नियमावली २०३९ (४) बमोजिम धरेललाई डेनमार्क अधिराज्यको कन्सल जनरल पदमा नियुक्त गरिएको हो ।

नेपालको पर्वतीय पर्यटन क्षेत्रमा विगत ३५ वर्षदेखि व्यावसायिक रुपमा कार्य गरिरहेका धरेलले विगत आठ वर्षदेखि कूटनीतिक क्षेत्रमा पनि सक्रिय रही नेपाल–डेनमार्क सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न विभिन्न काम गर्दै आएका छन् । दुई देशबीच लामो घनिष्टसम्बन्ध रहिआएको र आगामी दिनमा पनि यसलाई अझ जनस्तरमा विस्तार गरी लैजान आफू क्रियाशील रहने महावाणिज्यदूत धरेलले बताए । विभिन्न कारण काठमाडौंबाट नयाँदिल्ली स्थानान्तरण भएको डेनमार्कको दूतावासलाई पुनः नेपालमै फिर्ता ल्याउन पहल गर्ने उनले उल्लेख गरे ।

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔं : मन्त्री घिसिङ

ललितपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएका छन् । ‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज यहाँ आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा उनले स्थानीय उत्पादन उपयोगमा प्रोत्साहन गर्न आफूले योजना बनाइरहेको बताए ।

मन्त्री घिसिङले भने, ‘स्थानीय उत्पादन र प्रविधिको प्रयोगले रोजगारीको सिर्जना गर्नेछ । बाँसको व्यावसायिक खेतीले आन्तरिक मागलाई बढावा दिनुका साथै संरचना निर्माणका लागि खर्च हुने अन्तरराष्ट्रिय मुद्रा सञ्चितिमा समेत योगदान पुग्ने देखिन्छ । त्यसैले संरचना निर्माणका लागि स्थानीय प्रविधिको प्रयोग गरौँ, आफ्नो मौलिकता संरक्षणमा जोड दिऔँँ ।’ सहरी विकासमन्त्री समेत रहनुभएका घिसिङले आफ्नै देशको काठ तथा काठजन्य वस्तु प्रयोग नगर्दा त्यसले अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव परेको भन्दे अब प्रधावकारी, प्रविधिमैत्री एवम् भूकम्प प्रतिरोधी संरचना निर्माणमा बाँसलगायतको प्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिए ।

‘हामीले हाम्रो ठाउँको काठलाई उपयोग गर्न नसक्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ । काठ आयातमा हामीले धेरै रकम खर्च गरिरहेका छौँ, बाँसका संरचनालाई प्रयोगमा ल्याउने वातावरण बनाऔँ, यसले अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउनेछ’, मन्त्री घिसिङले भने । सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले स्थानीय उत्पादनको प्रयोगमा जोड दिन मन्त्रालय तयार रहेको बताए । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले स्थानीय सन्दर्भ अनुकूल, जलावायुमैत्री प्रविधि, भूकम्प प्रतिरोधात्मक संरचना निर्माणका लागि आवश्यक नीतिगत व्यवस्था, मापदण्ड, निर्देशिका र कार्यविधि तयार गरी लागू गर्न विभाग प्रतिबद्ध रहेको बताए ।

 

 

 

 

भैरहवा हिंडेका रविलाई चितवन लगिंदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (शुक्रबार) बिहानै रुपन्देही जिल्ला अदालत पुगेर रिहाइ प्रक्रिया पूरा गर्ने योजना भए पनि खराब मौसम र उडान ढिलाइले गर्दा अझै पुग्न सकेका छैनन् । उनी बिहान ८ बजे अघि नै ललितपुरको नक्खु कारागारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । भैरहवाको लागि सुरुमा तय गरिएको उडान खराब मौसमका कारण स्थगित हुँदा रवि नेपाल एयरको जहाजमार्फत भैरहवा सिधै जान असमर्थ भए ।

त्यसपछि उनलाई भरतपुरसम्म जहाजमा पुर्‍याएर त्यहाँबाट गाडीमार्फत रुपन्देही पठाउने निर्णय भएको रास्वपाका नेता गणेश पराजुलीले जानकारी दिए । तर, यो खबर तयार गर्दा दिउँसो १ बजेसम्म रवि त्रिभुवन विमानस्थलमै रोकिएका थिए । उडान ढिलाइले गर्दा उच्च अदालतले पूर्व रिहाइका लागि दिएको आदेश कार्यान्वयन गर्न समेत विलम्ब भएको हो । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरले बिहीबार जमानत अनुमति दिएको थियो । तर, त्यसका लागि जिल्ला अदालतमा आवश्यक कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता रहेको छ ।

यस्ता छन् रविलाई उच्च अदालतका पाँच शर्तः
–२०८१ माघ १३ गते जिल्ला अदालतले मागेको धरौटी रकम दफा ६८ अनुसार स्वीकार गर्नुपर्ने ।
–बैंक जमानत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ सुरक्षित गर्नुपर्ने ।
–विदेश यात्रा भएमा अदालतलाई पूर्व जानकारी दिनुपर्ने ।
–जिल्ला अदालतको मिति २०८२ साउन २६ को आदेशलाई बदर गर्नुपर्ने ।
–फैसला अनुसार बिगो रकम तिर्ने र आवश्यक कागजात बुझाउनु पर्ने ।

सुप्रिम सहकारी ठगी मुद्दामा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूमाथि ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ भने १० करोड ९९ लाख ३६ हजार रुपैयाँ छुट्टै अपचलन गरेको आरोप रवि र उनका निकटतम प्रतिवादीमाथि छ । रविले आफ्नो जिम्मेवारी भाग गरेर मात्र रिहाइको माग गरेका हुन् । रवि लामिछानेको ढिला उडान, अदालत प्रक्रिया र जमानतका जटिल शर्तले राजनीतिक र कानुनी दुनियाँमा चासोका विषय बनेको छ । आजको दिनका लागि तय गरिएको रिहाइ अझै सम्भव देखिँदैन ।

 

 

 

 

समीक्षा, रञ्जु, क्रान्तिशिखा, ज्वालादेखि रमेश प्रसाईसम्म रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । विवेकशील साझाबाट पार्टीमा प्रवेश गरेका समीक्षा बास्कोटा र रञ्जु दर्शना बागमती प्रदेशबाट सूचीमा परेका छन् । पार्टीले प्रारम्भिक निर्वाचन (प्राइमरी) का लागि इच्छुक उम्मेदवारहरूको आवेदन मागेको थियो । सबैभन्दा बढी आवेदन बागमती प्रदेशबाट आएको छ, जहाँ ९४ जनाले दाबी गरेका छन् । यसमा रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारी र केन्द्रीय सदस्य अरनिको पाण्डेको नाम पनि छन् ।

कोशी प्रदेशबाट ६० जना, मधेसबाट ६१ जना, गण्डकीबाट ४३, लुम्बिनीबाट ४४, सुदुरपश्चिमबाट ३० र कर्णालीबाट २१ जनाले आवेदन दिएका छन्। कोशी प्रदेशमा सहप्रवक्ता रमेश प्रसाईं, व्यवसायी राज्यलक्ष्मी गोल्छा र प्रकाशचन्द्र परियारका नाम प्रारम्भिक सूचीमा छन् । सुदुरपश्चिमबाट केन्द्रीय सदस्य ज्वाला संग्रौला र लुम्बिनीबाट क्रान्तिशिखा धितालको नाम समावेश छ ।

बास्कोटा गत निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका लागि प्रतिस्पर्धा गरेकी थिइन् भने दर्शनाले २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । पार्टीले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने तयारी गर्दै प्रारम्भिक सूची तयार पारेको हो, तर चुनावको निश्चितता भने अझै स्पष्ट छैन । रास्वपाले प्रारम्भिक सूचीमार्फत ३५३ आकांक्षीलाई समानुपातिक सांसद बन्ने अवसर दिनेछ । सूची सार्वजनिक भएपछि अब प्राइमरी निर्वाचनमार्फत फाइनल उम्मेदवार तय हुने प्रक्रिया अगाडि बढ्नेछ ।

 

 

 

 

 

 

 

 

 

 

 

रुपन्देही लगिन लागेका रवि काठमाडौंमै किन रोकिए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा जाने भनिए पनि अहिलेसम्म काठमाडौंमै रोकिएका छन् । शुक्रबार बिहानदेखि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान टर्मिनलमै रोकिएको हो । विमानस्थलमा रोकिनुको कारण भैरहवाको खराब मौसम रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

लामिछाने उच्च अदालत, बुटवलको आदेशपछि धरौटीमा रिहा भएका हुन् । बिहीबार अदालतले उनलाई थुना बाहिर बसेरै मुद्दा लड्न पाउने अनुमति दिएको थियो । त्यसपछि उनी शुक्रबार बिहान ७ः५५ बजे जहाजमार्फत भैरहवा जाने तयारीमा थिए, तर मौसम खराब भएकाले उडान स्थगित भएको हो । उनका प्रेस सल्लाहकार प्रमोद न्यौपानेका अनुसार, जेलबाट रिहा भए लगत्तै लामिछाने सिधै चितवन जान लागेका छन् । शनिबार चितवनको चौबिसकोटीमा विशेष सम्बोधन कार्यक्रम राखिएको छ । कार्यक्रम सम्पन्न भएपछि मात्र उनी काठमाडौँ फर्किने योजना रहेको न्यौपानेले बताए ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । लामिछानेले आफूलाई लागेको बिगोको रकम बैंक ग्यारेन्टी मार्फत बुझाएर उच्च अदालतमा रिहा गर्न निवेदन दिएका थिए । उच्च अदालत बुटवल इजलासले धरौटी रकम बुझाएपछि रिहा गर्न आदेश दिएको थियो । रिहा हुने क्रममा उनीले आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक ग्यारेन्टी बुझाउनु पर्नेछ । अदालतमा उपस्थित हुन र चितवनको कार्यक्रम पूरा गर्न लामिछानेले अहिलेसम्म काठमाडौँमै रोकिनुपरेको हो । अधिकारीहरूले मौसम सुधार भएपश्चात उडान हुने अपेक्षा व्यक्त गरेका छन् ।

 

 

कांग्रेस निर्वाचनको मिति कुरेर बसेको छ, तर सरकारको तयारीमा शंका छ : शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुन २१ गते निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ मा आयोजित स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले निर्वाचन नै प्रजातन्त्रको मुख्य आधार भएकाले कांग्रेस निर्वाचनमा जान पूर्ण रूपमा तयार रहेको बताए ।

कोइरालाले संविधानको रक्षा र मुलुकलाई वर्तमान संक्रमणकालीन अवस्थाबाट बाहिर निकाल्न निर्वाचन अपरिहार्य रहेको उल्लेख गरे । ‘संविधान जोगाउने र देशलाई स्थायित्वतर्फ लैजाने एकमात्र माध्यम निर्वाचन हो’, उनले भने, ‘हामी निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी र गतिविधि हेर्दा समयमै निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका उत्पन्न भएको छ ।’ उनले सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको आरोप पनि लगाए । कोइरालाका अनुसार अझै पनि देशमा सुरक्षासम्बन्धी गम्भीर चुनौतीहरू कायम छन् ।

‘दलका केही नेतालाई काठमाडौँ बाहिर जान नदिएको अवस्था छ, लुटिएका हतियार अझै फिर्ता भएका छैनन्, कैदीहरू बाहिर छन्’, उनले भने, ‘यी सबै विषयमा सरकारले के सोचिरहेको छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।’ सरकारले समयमै विश्वसनीय वातावरण निर्माण नगरे निर्वाचनको विश्वसनीयतामै प्रश्न उठ्ने उनको भनाइ थियो । यसका साथै उनले पार्टीभित्रका नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए । ‘कांग्रेस निर्वाचनबाट भाग्ने पार्टी होइन’, कोइरालाले भने, ‘जनताको बीचमा गएर लोकतन्त्रको पक्षमा उभिन हामी सबै एकजुट हुनुपर्छ ।’ स्थानीयस्तरको भेटघाटमा कोइरालाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताका समस्या सुन्ने र समाधानका लागि पहल गर्नुपर्ने आवश्यकता पनि औंल्याए । उनका अनुसार समयमै निष्पक्ष र स्वतन्त्र निर्वाचन भए मात्रै मुलुक राजनीतिक स्थायित्व र लोकतान्त्रिक बाटोमा अघि बढ्न सक्छ ।

 

 

 

रूपन्देहीमा विद्यार्थीको हत्या, नालीमा भेटियो शव

बुटवल । रूपन्देहीको कञ्चन गाउँपालिकामा एक १७ वर्षीय किशोरको बीभत्स हत्या भएको छ । कञ्चन गाउँपालिका–३, धौलागिरीचोक निवासी ईशान शर्मा पौडेलको शव बिहीबार साँझ स्थानीय एक नालीमा फेला परेको हो । बुधबार राति ८ बजेदेखि सम्पर्कविहीन भएका ईशानको खोजी गर्ने क्रममा बिहीबार साँझ ६ बजेतिर घर नजिकैको नालीमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । मृतकको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलको प्रकृति हेर्दा नियोजित रूपमा हत्या गरिएको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप क्षेत्रीले घटनाको पुष्टि गर्दै दोषीको खोजी कार्य तीव्र पारिएको जानकारी दिए । ‘टाउकोमा प्रहार गरेर बीभत्स ढंगले हत्या गरिएको अवस्थामा शव फेला परेको छ ,’ एसपी क्षेत्रीले भने, ‘हामीले घटनास्थललाई घेराबन्दी गरेर सुक्ष्म अनुसन्धान सुरु गरिसकेका छौँ । घटनामा संलग्न रहेकाहरूको पहिचान गर्न स्थानीयसँग सोधपुछ र अन्य प्राविधिक पक्षको अध्ययन भइरहेको छ ।’

स्थानीय अर्जुन र रमा शर्मा पौडेलका एक्ला सन्तान ईशान स्थानीय बुद्धदिप बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए । इलाका प्रहरी कार्यालय रुद्रपुरको टोलीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बुटवल पठाएको छ । प्रहरीले घटनाको गाम्भीर्यलाई हेर्दै तालिमप्राप्त कुकुर र विज्ञ टोली परिचालन गरी अनुसन्धानलाई अगाडि बढाएको जनाएको छ । कञ्चन–३ का वडा सदस्य समेत रहेका छिमेकी दीपक अधिकारीका अनुसार केही दिन पहिले विद्यालय परिसरमा ईशान र साथीहरूबीच एक युवतीको विषयमा विवाद भएको थियो । ‘उनी कुनै कुलतमा भएको हामीले थापा पाएका थिएनौँ । तर आफ्ना कुरामा सधैँ अडिग रहने र नभए रिसाउने बानी थियो, केही दिनअघि विद्यालय परिसरमा युवतीलाई मन पराएको कुरालाई लिएर साथीहरूसँग विवाद भएको सुनिएको छ, यद्यपि प्रहरीको अनुसन्धानमा त्यो खुल्नेछ, अहिले

अनुसन्धानका लागि तीन जना समातिएका छन्’ उनले भने । २ गते साँझ जिम गर्न गएका उनी सँगै त्यहाँबाट निस्केका साथी समातिएको अधिकारीले सुनाए । ‘घरको डेढ सय मिटरमै रहेको नालीमा फालिएको थियो शव, टाउकोमा पछाडि पट्टी चोट छ, घटनास्थलमा केही रगत चुहिएको, लतपतिएको केही छैन, त्यसैले बाहिर हत्या गरेर त्यहाँ फालेको अनुमान गर्न सकिन्छ, आफूले मन परेको केटीलाई अरुले हेरेको विषयमा विवाद भएको रे । समूह मिलेर आक्रमण गरेको हुनसक्छ’, उनले भने ।

 

कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौति : उद्योगमन्त्री सिन्हा

काठमाडौं । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्राथमिकता, उपयोगिता र गुणस्तर कमजोर हुँदा नागरिक असन्तुष्टि बढ्दै गएको बताएका छन् । शुक्रवार नेपाल आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्षको बजेटमा विभिन्न शिर्षकमा अबण्डा बजेट राख्ने प्रवृत्तिले नागरिक असन्तुष्ट रहेको र अर्थतन्त्र पनि कमजोर बनाएको बताए ।

सार्वजनिक खर्चको उपयोगिता, सेवा प्रवाह सुधार र आर्थिक सुशासन आजको सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै मन्त्री सिन्हाले यसले नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग प्रत्यक्ष सम्बन्ध राख्ने बताए । राज्यले कर, शुल्क र अन्तर्राष्ट्रिय सहायताबाट संकलन गरेको स्रोत शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गरे पनि त्यसको प्रतिफल नागरिकले अनुभूति गर्न नसकेको गुनासो रहेको स्वीकार गरे ।

मन्त्री सिन्हाले भने, ‘हरेक वर्षको बजेट विनियोजन विविध शिर्षकमा अबण्डा बजेट राख्ने गरिएको देखिन्छ । योजना प्राथमिकता र परिणाम बिनय गरिएको खर्चले न त नागरिकलाई सन्तुष्ट बनाउछ न त अर्थतन्त्रलाई बलियो बनाउँछ । कतिपय अवस्थामा यसको आवश्यकता र औचित्य पुष्टि हुनसक्छ तर यि शर्षकमा बजेट राख्नु कति न्यायोचित हो भन्ने प्रश्न नागरिक तहबाट मात्र नभई तपाईंहरुले पनि उठाउनु भएको छ । सार्वजनिक खर्चको उपयोगिता र सेवा सुधारको विषय पनि आजका दिन उत्तिकै महत्वपूर्ण छ ।’

उनले भने, ‘यो विषय नागरिकको दैनिकी राज्य प्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग पनि प्रत्यक्ष जोडिएको छ । राज्यले नागरिकबाट संकलन गरेको कर शुल्क र अन्तर्राष्ट्रिय सहायतामार्फत संकलन गरेको स्रोत सार्वजनिक खर्चका रुपमा शिक्षा स्वास्थ्य पूर्वाधार सामाजिक सुरक्षा र प्रशासनिक खर्च सेवामा लगानी गर्दछ तर हामीलाई नागरिकले गर्ने प्रश्न के हो भने हामीले गरेको सार्वजनिक खर्चको नागरिकले अनुभूति गर्नेले गर्ने गुणस्तरीय सेवा प्रदान गरिरहेको छ वा छैन ।’

मन्त्री सिंन्हाले भने, ‘आज पनि शिक्षाको गुणस्तरमा प्रश्न उठिरहेको छ । अस्पताल छन् तर सेवा पहुच र उपचार प्रभावकारी छ वा छैन भन्ने प्रश्न सबैको अगाडि आउने गरेको छ । विभिन्न गुनासोहरु रहेका पनि छन् । सडक बनेका छन् तर दीर्घकालिन टिकाउ पनमा जहिले पनि प्रश्न उठिराखेको अवस्था छ । यसले के संकेत गर्दछ भनेर भन्दा केवल खर्चको अभा होइन खर्चको उपयोगिता र गुणस्तरको अभाव भइराखेको छ । सार्वजनिक खर्चको दुरुपयोग भएन सदुपयोग भएन वा आर्थिक सुशासन कायम हुन सकेन भने गुनासोको प्रतिबिम्ब पनि यसै भदौ २३ गतेको जेन–जी आन्दोलन त्यसैको परिणाम हो जस्तो मैले महसुस गरेको छु ।’ मन्त्री सिन्हाले सार्वजनिक खर्चमा सदुपयोग र आर्थिक सुशासन कायम हुन नसक्दा उत्पन्न असन्तुष्टिकै प्रतिफलका रूपमा भदौ २३ गतेको जेन–जी आन्दोलन भएको आफूले महसुस गरेको बताए ।

 

गायिका सत्यकला राई रास्वपामा, समानुपातिक सूचीमा नाम

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा आफ्नै पहिचान बनाएकी गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा समेटिएकी छन् । ‘तिमीलाई हङकङ पुर्‍यायो आइडी काडैले’ जस्ता दर्जनौं चर्चित गीतमार्फत दर्शक–श्रोताको मन जितेकी राईको नाम खोटाङ जिल्लाबाट आदिवासी जनजाति समूहअन्तर्गत सिफारिस गरिएको हो ।

रास्वपाले सार्वजनिक गरेको प्रारम्भिक सर्टलिष्टमा खोटाङबाट राईको मात्रै नाम समावेश हुनुले पनि उनको राजनीतिक प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सांगीतिक यात्राबाट समाजमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी राई पछिल्लो समय राजनीतिक क्षेत्रमा पनि योगदान दिने चाहनासहित अघि बढेकी देखिन्छिन् । हाल सांगीतिक कार्यक्रम तथा भेटघाटका सिलसिलामा अमेरिकामा रहेकी राईले आफू रास्वपाको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा परेको जानकारी पाएको बताइन् ।

उनले निर्वाचित भएर जनताको पक्षमा काम गर्ने इच्छा रहेको स्पष्ट पार्दै पार्टीका साथीभाइ तथा शुभेच्छुकहरूले राजनीतिमा सक्रिय भएर योगदान गर्न प्रेरित गरेको उल्लेख गरिन् । ‘अहिले म नेपाल बाहिर छु’, राईले सुनाइन्, ‘जनवरी २ मा नेपाल फर्किएपछि पार्टीसँग थप छलफल गर्छु ।’ रास्वपाले प्रारम्भिक सूचीमा परेका उम्मेदवारहरूसँग पुस ५ गते छलफल गर्ने कार्यतालिका बनाए पनि अमेरिकामा रहेकी राई उक्त छलफलमा सहभागी नहुने बताइएको छ । गायन क्षेत्रबाट स्थापित पहिचान बनाएकी सत्यकला राई चलचित्र निर्माता नवल खड्काकी श्रीमती समेत हुन् । सांस्कृतिक क्षेत्रबाट राजनीतिमा प्रवेश गर्ने उनको कदमलाई धेरैले चासोका साथ हेरिरहेका छन् । अब नेपाल फर्किएपछि हुने छलफलले उनको राजनीतिक यात्राको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

 

 

मेरो हार न अस्वाभाविक हो, न त चिन्ताको विषय : विष्णु रिमाल

काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै त्यसका राजनीतिक सन्देशहरू पनि क्रमशः सार्वजनिक हुन थालेका छन् । अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावित प्यानलमा समावेश तथा उनका निकट मानिने नेता विष्णु रिमाल उपमहासचिव पदमा पराजित भएपछि पार्टीभित्र र बाहिर चर्चा स्वाभाविक बनेको छ । तर, पराजयपछिको रिमालको धारणा र अभिव्यक्तिले राजनीतिक वृत्तमा सकारात्मक सन्देश दिएको छ ।

उपमहासचिव पदका लागि भएको प्रतिस्पर्धामा योगेश भट्टराईसँग पराजित भएका रिमालले परिणामलाई अस्वाभाविक वा चिन्ताजनक नभई लोकतान्त्रिक अभ्यासको अनिवार्य पाटोका रूपमा व्याख्या गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा उनले चुनावी नतिजालाई शालीनता र आत्मविश्वासका साथ स्वीकार गर्दै भनेका छन्, ‘यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय । यस्ता परिणामहरू लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास हुन् ।’

सामान्यतया अध्यक्षको ‘कोर टिम’ मा रहेर पनि पराजित हुँदा नेताहरू असन्तुष्ट देखिने परम्परा रहँदै आएको सन्दर्भमा रिमालको यो अभिव्यक्ति फरक र परिपक्व देखिएको छ । उनले अध्यक्ष ओलीले प्रस्ताव गरेको टिममध्ये आफू (उपमहासचिव) र एक उपाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित भएको यथार्थलाई खुलेर स्वीकार गरेका छन् ।

यस नतिजालाई रिमालले एमालेको वैचारिक मार्गदर्शन—जनताको बहुदलीय जनवाद (जबज)—सँग जोड्दै व्याख्या गरेका छन् । ‘हामी जनताको बहुदलीय जनवादको मूल भावनाबाट दृढ रूपमा निर्देशित छौं— प्रतिस्पर्धालाई आत्मसात गर्ने, पहल गर्ने, आफ्नो श्रेष्ठता प्रमाणित गर्ने र नेतृत्वका लागि म्यान्डेट प्राप्त गर्ने’, उनले लेखेका छन्, ‘यही भावना अनुरूप हामीले परिणामलाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरेका छौं ।’

महाधिवेशनबाट कार्यकारी पदमा पुग्न नसके पनि रिमालले आफ्नो राजनीतिक प्रतिबद्धता र यात्रामा कुनै कमी नआउने स्पष्ट पारेका छन् । पार्टीभित्रको औपचारिक जिम्मेवारी फेरिए पनि साझा लक्ष्य, विचार र कमरेड्ली भावना यथावत् रहने उनको भनाइ छ । महाधिवेशनलाई उनले पार्टीको सामूहिक उपलब्धि, गरिमा र उत्साहको रूपमा चित्रण गर्दै सम्पूर्ण प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन् । ‘आगामी दिनहरूमा पनि हामी एउटै मार्गमा सँगसँगै अघि बढ्नेछौँ’, रिमालको सन्देशले एमालेभित्र एकता र निरन्तरताको संकेत गर्छ । पराजयलाई सहज स्वीकार गर्दै पार्टीप्रतिको निष्ठा र वैचारिक दृढता पुनः पुष्टि गरेको रिमालको अभिव्यक्तिलाई अहिले एमालेभित्र लोकतान्त्रिक संस्कारको उदाहरणका रूपमा हेरिन थालिएको छ ।

 

 

एमालेले पनि मधेसका मुख्यमन्त्रीलाई विश्वासको मतमा साथ दिने

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । सात दलीय गठबन्धनको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री यादवलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले समेत विश्वासको मत दिने निर्णय गरेको छ। यससँगै मधेस प्रदेशको सत्ता समीकरण थप बलियो हुने देखिएको छ ।

प्रदेश सरकारका ऊर्जामन्त्री जबाहरलाल कुशवाहाका अनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ४ बजे प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यक्रम तय भएको छ । एमालेकी प्रदेश सभा सदस्य शारदा थापाले पार्टीले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरिसकेको जानकारी दिइन् । ‘हाम्रो संसदीय दलको निर्णयअनुसार आज मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिनेछ,’ सांसद थापाले भनिन् ।

यसअघि एमालेकै समर्थनमा मुख्यमन्त्री बनेका सरोज यादवले प्रदेश सभामा बहुमत जुटाउन नसकेपछि २४ दिनमै पद गुमाएका थिए। त्यसपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव सात दलका ७७ जना सांसदको समर्थनमा गत मंसिर १९ गते मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री यादवले संविधानको धारा १६८ (४) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रदेश सभा सचिवालयमा पत्र पठाउँदै आजको दिनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए ।

एमालेले पनि समर्थन गर्ने भएपछि मुख्यमन्त्री यादवले कुल १०४ सांसदको समर्थन प्राप्त गर्नेछन्। १०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । मधेस प्रदेशमा सबैभन्दा ठूलो दल एमालेसँग २४ सांसद छन् । यद्यपि सरकार गठन भए पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन। हालसम्म नेपाली कांग्रेसबाट जङ्गीलाल यादव स्वास्थ्य मन्त्री, जनमत पार्टीबाट महेश यादव अर्थ मन्त्री, माओवादी केन्द्रबाट जबाहरलाल कुशवाहा ऊर्जा मन्त्री, एकीकृत समाजवादीबाट गणेश पटेल उद्योग मन्त्री र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रानीकुमारी तिवारी शिक्षा मन्त्री नियुक्त भएका छन् ।

सात दलीय सत्ता गठबन्धनको दोस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) बाट भने अझै मन्त्री नियुक्त हुन बाँकी छ । जसपाले महत्वपूर्ण मन्त्रालयसहित प्रदेश सभाको सभामुख पदमा दाबी गर्दै आएको स्रोतको भनाइ छ । एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डल महाअभियोगबाट पदमुक्त भएपछि मधेस प्रदेशमा सभामुख पद रिक्त छ । हाल सभामुख पदका लागि जसपा र माओवादी केन्द्रबीच दाबी–प्रतिदाबी चलिरहेको छ । मुख्यमन्त्री यादवले आज विश्वासको मत सहजै प्राप्त गर्ने देखिएसँगै मधेस प्रदेशको राजनीतिक स्थायित्वतर्फ एक कदम अघि बढ्ने संकेत देखिएको छ।

रविबारे अदालतको आदेशपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अभिभावक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्ने आदेश दिएकोप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । उनले उक्त आदेशलाई विधिको शासन, राजनीतिक उपयुक्तता र सहकारी पीडितको हितका दृष्टिले समेत स्वागतयोग्य निर्णय भएको बताएका छन् ।

डा. भट्टराईका अनुसार अदालतको यो निर्णयले न्यायिक प्रक्रियालाई अघि बढाउने मात्र होइन, सम्बन्धित सबै पक्षका लागि न्याय खोज्ने बाटो खुला गरेको छ । ‘यसले रवि लामिछानेलाई विधिसम्मत ढंगले आफ्नो निष्ठा प्रमाणित गर्ने अवसर दिएको छ । साथै जनताबीच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारी पीडितहरूले पनि आफ्नो पीडाको सम्बोधन कानुनी प्रक्रियाबाटै पाउने वातावरण बनेको छ’, उनले भनेका छन् । उनले आफूले गत वर्षदेखि नै रवि लामिछाने प्रकरणमा उठाउँदै आएको धारणा अदालतको आदेशबाट पुष्टि भएको दाबी समेत गरेका छन् । गत वर्ष पोखरामा प्रहरी हिरासतमा रहेका बेला लामिछानेलाई भेटेपछि मिडियासामु व्यक्त गरेको विचार स्मरण गर्दै भट्टराईले लोकतन्त्रको मूल सौन्दर्य नै यही भएको उल्लेख गरे ।

‘तथ्यका आधारमा सत्य खोज्नु लोकतन्त्रको मर्म हो । उडन्ते अनुमान, भावनात्मक प्रतिक्रिया र षड्यन्त्रका सिद्धान्तको पछि लाग्नु हुँदैन’, उनले भने । डा. भट्टराईले बहुदलीय लोकतन्त्रको सार दल र व्यक्तिहरूबीचको स्वस्थ प्रतिस्पर्धा र आवश्यक सहकार्यको संयोजन भएको स्पष्ट पारे । उनले प्रतिस्पर्धालाई दुश्मनीको रूपमा र सहकार्यलाई वैचारिक प्रतिबद्धता बिर्सिने अभ्यासका रूपमा बुझ्नु गलत हुने चेतावनी पनि दिएका छन् । ‘प्रतिस्पर्धा गर्दा दुश्मन जस्तो व्यवहार गर्ने र सहकार्य गर्दा आफ्नो राजनीतिक आस्था र सिद्धान्त बिर्सने गल्ती नगरौं’, उनले भने ।

 

अर्थमन्त्रीको आश्वासन : क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि सरकारले सहयोग गर्छ

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको कार्यालय भवनको स्थलगत अवलोकन गरेका छन् । तोडफोड र आगजनी भएको एक सय दिनपछि क्षतिग्रस्त उपमहानगरपालिका कार्यालय भवनको स्थलगत अवलोकन गर्न पुगेका अर्थमन्त्री खनालले भवन मर्मतका लागि संघ सरकारले सहयोग गर्ने आश्वासन दिए ।

क्षतिग्रस्त कार्यालय भवन मर्मतसम्भार सम्बन्धि फाइल बिहीवार मात्रै आफ्नो टेबुलमा आएको भन्दै उहाँले फाइल हेरेर आवश्यक निर्णय लिने बताए । त्यसक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खिलराज पाण्डेयले सामान्य मर्मतले मात्रै कार्यालयको सेवा प्रवाह गर्न सम्भव नभएकोले संघ सरकारको सहयोग जरुरी रहेको बताए । कार्यालय भवन पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने र उपमहानगरपालिकासँग त्यस्तो स्रोत नभएकोले संघ सरकारबाट सहयोग गर्न माग गरे ।

उपमहानगरपालिका आफैले भवन पुनर्निर्माण गर्दा विकास योजनाका लागि छुट्टयाइएको बजेट कटौती गर्नुपर्ने भन्दै नगर प्रमुख पाण्डेयले कार्यान्वयनमा गइसकेको योजना कटौती गर्दा समस्या पर्ने गुनासो गरे । बुटवलको ज्योतिनगर पहिरो नियन्त्रणका लागि राष्ट्रपति चुरे संरक्षण आयोजनामार्फत २५ करोड बजेट छुट्टयाइएको भएपनि उक्त बजेट कटौती भई २५ लाखमा झरेको भन्ने सुन्नमा आएको भन्दै उनले सो बजेट कटौती नगर्न आग्रह गरे ।

ज्योतिनगर पहिरो नियन्त्रण योजनाको बजेट कटौती हुँदा पहिरोले ज्योतिनगरको बस्तीसँगै बुटवल बहुमुखी क्याम्पस नेपाली सेनाको विद्यालय विस्थापित हुनुका साथै समग्र बुटवललाई नै असर गर्ने उनले अर्थमन्त्री खनालको ध्यानाकर्षण गराए । जवाफमा अर्थमन्त्री खनालले संवेदनशील र कार्यान्वयनमा गइसकेका आयोजनाको बजेट कटौती नगरिएको जानकारी गराउँदै त्यस विषयमा सम्बन्धित निकायसँग बुझ्ने बताए । खनालले निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पताल निरीक्षण समेत गरेका थिए । उनले निर्माण कार्यको स्थलगत अवलोकन गर्दै आवश्यक बजेट व्यवस्थापन गर्ने विषयमा सहजीकरण गर्ने समेत आश्वासन दिएका थिए ।

टुकुचा खोलाको पानी पिउनयोग्य बनाइँदै {तस्वीरहरु}

काठमाडौं । टुकुचा खोलाको पिउन मिल्ने बनाउने लक्ष्यसहित प्रदूषित पानी स्रोत सफा गर्ने उद्देश्यले फोहर पानी प्रशोधन केन्द्र निर्माणको काम अघि बढाइएको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालयअन्तर्गत बागमती सभ्यता एकीकृत विकास उच्चस्तरीय समितिमार्फत बागमती नदी बेसिन सुधार आयोजना–अतिरिक्त वित्तीय सहयोग अन्तर्गत यो परियोजना सञ्चालनमा छ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा करिब एक अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने लक्ष्य राखिएको छ, साथै ५ वर्षको सञ्चालन सेवा अवधि तोकिएको छ । परियोजनाको ठेक्का Passavant–Kalika–SNET–JV  ले लिएको छ भने परामर्शदाता EPTISA SERVICIOUS DE INGENIERIA S.L सहितको संयुक्त टोली रहेको छ । केही दिनअघि शहरी विकास मन्त्री कुलमान घिसिङले टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्रको आयोजनास्थलको निरीक्षण गरेका थिए ।
तस्वीरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

केन्द्रीय सदस्य मनोनीत नगरियोस्, मैदानमै खट्छु : पाण्डे

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि आवश्यक मत नपुग्दा जित हासिल गर्न सकेनन् । महासचिवमा उनले ९९९ र केन्द्रीय सदस्यमा ९६१ मत पाए । केन्द्रीय सदस्य बन्न १११५ भन्दा बढी मत आवश्यक थियो भने महासचिवमा विजयी शंकर पोखरेलले १२२८ मत ल्याए ।

परिणामप्रति सन्तुष्टि व्यक्त गर्दै पाण्डेले आफूले पाएको मतलाई नै ठूलो उपलब्धि मानेका छन् । महासचिवमा प्रतिस्पर्धा गरेर देशभरका प्रतिनिधिको विश्वास जित्नुलाई उनले आफ्नो राजनीतिक सफलता बताए । एमालेको विधानअनुसार केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था भए पनि आफू त्यस प्रक्रियाबाट केन्द्रीय कमिटीमा नजाने स्पष्ट पारेका छन् ।

‘म ग्रासरुटबाट आएको नेता हुँ, फेरि पनि मैदानमै खट्छु,’ उनले भने, ‘मलाई मनोनीत गर्नु पर्दैन ।’ पद नपाए पनि पार्टीको नीति, विचार र कार्यक्रमको पक्षमा दृढतापूर्वक उभिने र गलत प्रवृत्तिको निरन्तर प्रतिवाद गर्ने उनको भनाइ छ । यसैबीच, अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचित ३०१ सदस्यीय एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्दै छ ।

रवि लामिछाने छुटपुर्जीका लागि भैरहवा प्रस्थान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने आज कारागारमुक्त हुँदैछन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि छुटपुर्जी लिन उनी भैरहवा प्रस्थान गरेका हुन् । नख्खु कारागार प्रशासनले लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइसकेको छ । भैरहवा विमानस्थलमा हुस्सु लागेकाले उडान केही ढिला भए पनि मौसम खुलेपछि उनी जहाजमार्फत त्यहाँ जानेछन् ।

भैरहवा पुगेपछि जिल्ला अदालत रूपन्देहीबाट छुटपुर्जी लिएपछि मात्र उनको औपचारिक रिहाइ हुनेछ । उच्च अदालतले सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी स्वीकार गर्दै थुनामुक्त गर्न आदेश दिएको हो । यससँगै उनले धरौटीबापत एक करोड रुपैयाँ अदालतमा बुझाउनु पर्नेछ । सहकारी रकम अपचलन प्रकरणमा सामूहिक रूपमा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । भैरहवा विमानस्थल वरिपरि रास्वपाका कार्यकर्ता भेला भइसकेका छन् ।

रास्वपाको समानुपातिक सूचीमा राज्यलक्ष्मी गोल्छा, उम्मेदवारहरूसँग छलफल सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिसभा समानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा विराटनगरको पुरानो व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी (राजलक्ष्मी) गोल्छा परेकी छन् । सूचीमा परेपछि उनले निर्वाचित हुने अवसर पाए देशका लागि योगदान गर्ने प्रतिक्रिया दिएकी छन् ।

रास्वपाले समानुपातिक उम्मेदवारीका लागि आवेदन दिएका व्यक्तिहरूमध्ये पहिलो चरणको प्रारम्भिक सूची सार्वजनिक गरेको हो । सो सूचीमा गोल्छाको नाम मधेशी कोटामा समावेश गरिएको छ । पार्टीले सूचीमा परेका उम्मेदवारहरूसँग पुस ५ गतेदेखि छलफल तथा घरदैलो गर्ने जनाएको छ । यी गतिविधि काठमाडौं र बागमती प्रदेश केन्द्रित हुनेछन् ।

गोल्छा दोस्रो संविधानसभामा नेकपा एमालेबाट समानुपातिक कोटामा सभासद् बनेकी थिइन् । त्यतिबेला पार्टीलाई चन्दा दिएको आधारमा सांसद बनेको आरोप एमालेमाथि लागेको थियो । २०७२ कात्तिक १ गते प्रधानमन्त्री निर्वाचनका बेला संसद बैठकमा अनुपस्थित भएपछि एमाले स्थायी कमिटीले उनलाई राजीनामा दिन निर्देशन दिएको थियो, तर उनले राजीनामा दिएकी थिइनन् । त्यसपछि एमालेसँग उनको सम्बन्ध चिसिएको थियो ।

एमालेबाट अलग भएपछि गोल्छा विवेकशील साझा पार्टीमा आबद्ध भएकी थिइन् । विवेकशील साझा पार्टी केही दिनअघि रास्वपासँग एकता भएपछि उनी रास्वपामा समाहित भएकी हुन् । रास्वपाले प्रारम्भिक सूची सार्वजनिक भएसँगै उम्मेदवारमाथि दाबी–विरोध प्रक्रिया पनि सुरु भएको जनाएको छ । दाबी–विरोध सम्बन्धित प्रदेश सभापति, पार्टी निर्वाचन आयोग, केन्द्रीय कार्यालय वा इमेलमार्फत गर्न सकिनेछ । अन्तिम बन्द सूची र क्लस्टर कम्पोजिसन भने निर्वाचन आयोग नेपालको निर्देशनअनुसार तय हुने पार्टीको भनाइ छ । प्रारम्भिक सूचीमा परेकी गोल्छाले आफूलाई पार्टीले दिएको अवसर सकारात्मक रहेको बताउँदै भनिन्, ‘निर्वाचित हुने मौका पाए देशका लागि केही योगदान गर्न पाउनु ठूलो कुरा हुन्छ ।’

 

रविलाई रुपन्देही अदालत लगिंदै, आज शर्तसहित छुट्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने शुक्रबार थुनामुक्त हुने भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी ठगी मुद्दामा बिगो बापतको धरौटी र बैंक जमानत स्वीकार गर्दै उनलाई शर्तसहित रिहा गर्न आदेश दिएपछि आज आवश्यक प्रक्रिया पूरा गरी छुट्ने भएका हुन् ।

लामिछाने हाल ललितपुरस्थित नख्खु कारागारमा छन् । उच्च अदालतको आदेश बिहीबार नै आए पनि जिल्ला अदालतबाट छुट पुर्जी जारी हुन नसक्दा उनी सोही दिन रिहा हुन सकेका थिएनन् । अदालत प्रशासनका अनुसार शुक्रबार मात्रै जिल्ला अदालत रूपन्देहीबाट छुट पुर्जी जारी हुनेछ । त्यसका लागि उनलाई आज बिहान काठमाडौँबाट बुद्ध एयरको पहिलो उडानमार्फत रुपन्देही लगिँदै छ । उनका सहयोगी प्रमोद न्यौपानेका अनुसार बिहान करिब ८ बजेतिरको उडानमा उनलाई भैरहवा लगिने तयारी गरिएको छ ।

उच्च अदालत तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार अदालतको आदेशअनुसार अब जिल्लामै उपस्थित गराई कागजी प्रक्रिया पूरा गरेपछि लामिछाने रिहा हुनेछन् । उनले यसअघि नै बैंक जमानत बुझाइसकेकाले अब औपचारिक प्रक्रिया मात्र बाँकी रहेको बताइएको छ ।

न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेलाई धरौटीमा छाड्न आदेश दिँदै पाँच वटा शर्त तोकेको छ । आदेशअनुसार जिल्ला अदालत रूपन्देहीले २०८१ माघ १३ गते थुनछेकका क्रममा तोकेको एक करोड रुपैयाँ धरौटी स्वीकार गर्नुपर्नेछ । सो समय रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

यसका साथै सुप्रिम सहकारीसँग सम्बन्धित बिगो रकम सुरक्षित गर्न लामिछानेले पेश गरेको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी पनि मान्य हुने आदेशमा उल्लेख छ । व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नुपरे अदालतलाई पूर्व जानकारी गराउनु पर्ने शर्त पनि राखिएको छ । त्यस्तै, जिल्ला अदालत रूपन्देहीले यसअघि जमानत लिन अस्वीकार गर्दै दिएको आदेश उच्च अदालतले बदर गरिदिएको छ । अन्तिम फैसलाबाट बिगोका हकमा थप दायित्व सिर्जना भएमा त्यसअनुसार बुझाउन मञ्जुर भएको कागज गराई थुनामुक्त गर्न भनिएको छ ।

अदालतको आदेशमा प्रतिवादीले आफू कार्यरत संस्थामा सुप्रिम सहकारीबाट प्रवाह भएको रकममध्ये दामासाहीका आधारमा पर्ने बिगो बैंक ग्यारेन्टीमार्फत सुरक्षित गरेको देखिएको उल्लेख छ । बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता पहिलो प्राथमिकता भएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार बैंक ग्यारेन्टी स्वीकार गरी मुद्दाको कारबाही अगाडि बढाउन उपयुक्त देखिएको अदालतको ठहर छ ।

यसअघि जिल्ला अदालतले बैंक ग्यारेन्टीका आधारमा जमानतमा छाड्न अस्वीकार गरेपछि लामिछाने उच्च अदालत पुगेका थिए । उच्च अदालतले २०८१ चैतमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि उनलाई भैरहवा कारागार चलान गरिएको थियो । पछि आफूलाई काठमाडौँ सरुवा गर्न माग गरेपछि साउन ३१ गते रुपन्देही कारागारबाट नख्खु कारागार सरुवा गरिएको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ । तीमध्ये रवि, छवि र जीबीसहित चार जनाले १० करोड ९९ लाख ३६ हजार रुपैयाँ छुट्टै अपचलन गरेको आरोप अभियोगपत्रमा उल्लेख छ । लामिछानेले सोही बिगोमध्ये आफ्नो भागमा पर्ने रकम दामासाहीका आधारमा सुनिश्चित गरी धरौटीमा रिहा गर्न माग गरेका थिए, जसलाई उच्च अदालतले स्वीकार गरेको हो ।

 

रविको रिहाइ आदेशपछि तोशिमा भन्छिन्–न्याय ढिलो भए पनि ढोका खुल्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोशिमा कार्कीले सार्वजनिक धारणा राख्दै न्यायिक प्रक्रियाको ढिलासुस्ती र कठोरतामाथि गम्भीर प्रश्न उठाएकी छन् ।

पार्टी सभापति रवि लामिछानेलाई उच्च अदालत बुटवलले हिजो धरौटीमा छाड्न दिएको आदेशको सन्दर्भ जोड्दै उनले एक जनप्रतिनिधि, दुई–दुई पटक भारी मतले निर्वाचित व्यक्तिलाई धरौटीमा छुट्न समेत महिनौं कुर्नुपर्ने अवस्थाले आम नागरिकहरू वर्षौदेखि कसरी मुद्दा–मामिलामा अल्झिरहेका होलान् भन्ने यथार्थ चित्रण गरेको टिप्पणी गरेकी छन्।

कार्कीका अनुसार ‘म भाग्दिन, देश छोडेर जाँदिन, धरौटी र विगो तिर्छु, अनुसन्धानमा पूरा सहयोग गर्छु’ भन्ने स्पष्ट प्रतिबद्धताका बाबजुद पनि न्यायिक प्रक्रियाले समय लिँदा त्यसले न्याय प्रणालीको संवेदनशीलता र गतिशीलतामाथि प्रश्न खडा गरेको छ । ढिलै भए पनि पार्टी सभापति रवि लामिछाने अब थुनामुक्त भई बाहिरै रहेर मुद्दा लड्न पाउने अवस्थामा पुगेको उल्लेख गर्दै उनले यसलाई न्यायको ढोका खुलेको संकेतका रूपमा लिएकी छन्।

उनले रवि लामिछानेमाथि अन्याय र प्रतिशोध भएको विषयमा ४० लाख हस्ताक्षरले जनमत व्यक्त गरिसकेको स्मरण गराउँदै बुटवल उच्च अदालतको फैसलाले न्याय प्रणाली कठोर भए पनि अन्ततः धैर्यता, निडरता र निरन्तरतासामु झुक्न बाध्य भएको सन्देश दिएको टिप्पणी गरेकी छन् । यद्यपि पूर्ण न्याय अझै बाँकी रहेको भन्दै उनले अब पेसी सर्ने मात्र नभई चाँडै मुद्दाहरूको छिनोफानो भएर न्याय सुनिश्चित होस् भन्ने कामना व्यक्त गरेकी छन् ।

विगो र धरौटी दुवै तिर्छु भन्ने अभियुक्तको अधिकारलाई लिएर देशभर उत्सव जस्तो माहोल देखिनु आफैंमा हाम्रो न्याय प्रक्रिया कति क्रुर, निर्दयी र सुस्त छ भन्ने उदाहरण भएको कार्कीको भनाइ छ । उनले न्यायिक सुधारको आवश्यकता औंल्याउँदै ‘दुश्मनलाई बरु दिन लागोस्, मुद्दा नलागोस्’ भन्ने भनाइ यस्तै यथार्थबाट जन्मिएको बताएकी छन् ।

रवि लामिछानेको रिहाइलाई खुशीभन्दा बढी आशाको क्षणका रूपमा व्याख्या गर्दै कार्कीले यसले पार्टीभित्र नयाँ ऊर्जा र उत्साह थपेको बताइन् । अब सभापतिको भौतिक उपस्थिति र प्रत्यक्ष पहलमा वैकल्पिक शक्तिहरू एकीकृत हुँदै मध्यमार्गी मूलधारको निर्णायक शक्ति बन्ने विश्वास उनले व्यक्त गरिन् । आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बहुमतसहित विजयी भई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनै अङ्गमा आवश्यक सुधार गर्दै भ्रष्टाचारमुक्त सरकार निर्माण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

उनका अनुसार रवि लामिछानेको रिहाइसँगै पार्टीभित्र र बाहिर नयाँ शक्तिहरू एकीकृत हुने क्रम तीव्र भएको छ । रास्वपा थप सबल, सुदृढ र विस्तारित हुँदै भ्रष्टाचारविरुद्धको संघर्षमा अग्रपंक्तिमा उभिने संकेत देखिएको उनले दाबी गरिन् । अन्त्यमा उनले देशले खोजेको निकास र विकासको मार्ग अब रास्वपाले अघि बढाइरहेको भन्दै धैर्य गर्न आग्रह गरिन् । रास्वपा निलो क्रान्ति–अबको आशा रास्वपा’ भन्ने नारासहित उनले परिवर्तन, सुधार र आशाको दियो बलिरहेको सन्देश दोहोर्‍याएकी छन् ।

 

थुनामुक्त भएपछि रवि लामिछानेले चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

सहकारी ठगीको अभियोगमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । सबै प्रकृया पुरा गरेर लामिछाने शुक्रबार नख्खु जेलबाट बाहिर निस्किने छन् ।

अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनले चुनावमा उम्मेद्वार हुन पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न गरिरहेका छन् । अदालतमा मुद्धा दायर भएपछि रविको सांसद पद निलम्बन भएकाले पनि धेरैलाई यस्तो जिज्ञासा आएको हुनुपर्छ । सामान्य बुझाइमा सांसद पद निलम्बन हुनु भनेको सांसद हुन अयोग्य हुनु हो । संसदले नै सांसद हुन अयोग्य भनेको व्यक्ति मुद्धाको अन्तिम फैसला हुनुअघि नै चुनावमा भाग लिन पाउँछ कि पाउँदैन भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।

जेनजी आन्दोलन पछि बनेको अन्तरिम सरकारलाई चुनाव गराउन राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ का लागि तोकेका छन् ।

त्यसैले, हामीले यही प्रश्न दुई जना अधिवक्ताहरूलाई गरेका छौं ।

रविको पक्षमा वकालत समेत गरिरहेका अधिवक्ता दीपेन्द्र झाले उनलाई चुनावमा उम्मेद्वार बन्न कुनै कानुनी अड्चन नरहेको बताए ।

‘उहाँलाई चुनावमा उम्मेद्वार हुन कुनै कानुनी अड्चन छैन,’ झाले भने । त्यसोभए उनको सांसद पद किन निम्बन गरियो त ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘यो कानुनी मात्रै नभएर राजनीतिक प्रश्न पनि हो, यसबारे त्यतिबेला पनि विवाद भएको थियो ।’

वरिष्ठ अधिवक्ता तथा संविधानविद भिमार्जुन आचार्यले पनि रविलाई चुनावमा उम्मेद्वार बन्न कुनै कानुनी बाधा नरहेको स्पष्ट पारे ।

‘उहाँमाथि लागेको कुनै पनि मुद्धाको अन्तिम फैसला नहुन्जेल चुनावमा उम्मेद्वार बन्न कानुनले रोकेको छैन,’ आचार्यले भने ।

एमाले महाधिवेशनले राष्ट्रिय राजनीतिमा दिएको दुई सन्देश

आगामी पाँच वर्षका लागि केपी शर्मा ओली अध्यक्ष रहेको टिमलाई पार्टीको नेतृत्व जिम्मा लगाउँदै नेकपा एमालेको ११औं महाधिवेशन सकिएको छ । मंसिर २७ गते सुरू भएको महाधिवेशन तोकिएको भन्दा तीन दिन ढिला गरी पुष ३ गते सकिएको हो ।

जेनजी आनदोलनबाट आफ्नै नेतृत्वमा रहेको पार्टी सरकारबाट फालिएपछि चौतर्फी रुपमा एमालेको आलोचना बढेको थियो भने अर्कातिर दलहरूभित्र नेतृत्व पुस्तान्तरणसहित पुनर्संरचनाको बहस चुलिएको थियो । सार्वजनिक वृत्तमा हुने बहसमा एमाले रक्षात्मक अवस्थामा पुगेको देखिएको बेला एक वर्ष अगावै महाधिवेशन सम्पन्न गरेर एमालेले आफू अझै पनि उत्तिकै शक्तिशाली भएको सन्देश मात्रै दिएको छैन, अध्यक्षमा केपी ओली सहित बहुसंख्यक उनी पक्षका नेताहरू निर्वाचित गरेर उनले उठाएको एजेन्डालाई अनुमोदन पनि गरेको छ ।

एमालेको यो महाधिवेशनले राष्ट्रिय राजनीतिमा दुई वटा मुख्य सन्देशहरू दिएको छ ।

पहिलो, पुराना दलको प्रभाव र शक्ति कमजोर भएको छैन ।

२०७२ सालमा संविधान सभाबाट नयाँ संविधान जारी हुने समय आसपासबाट नै नेपालमा पुराना र वैकल्पिक राजनीतिक शक्तिको बहस सुरू भएको थियो । उज्जवल थापाले सुरू गरेको विवेकशील अभियान, माओवादी छोडेर बाबुराम भट्टराईले सुरू गरेको नयाँ शक्तिका साथै रविन्द्र मिश्रको अगुवाईमा स्थापना भएको साझा पार्टीले आफूलाई वैकल्पिक पार्टीका रुपमा प्रस्तुत गरिरहेका थिए ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयरका उम्मेद्वार बनेका विवेकशीलकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले प्राप्त गरेको मतले वैकल्पिक राजनीतिमा नागरिकको आकर्षण छ भन्ने संकेत गरेको थियो । तर, संघीय र प्रादेशिक संसदको निर्वाचनमा नयाँ र वैकल्पिक पार्टीहरूको जोर चलेन ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा आइपुग्दा विवेकशील, साझा र नयाँ शक्ति सबै कमजोर भइसकेका थिए । यस्तो बेला अचानक स्वतन्त्र उम्मेद्वारको माहौल बन्यो । काठमाडौं महानगरपालिकामा बालेन शाह निर्वाचित हुँदा धरानमा हर्क साम्पाङ र धनगढीमा गोपी हमाल स्वतन्त्र उम्मेद्वारका रूपमा विजयी भए । यसैबाट प्रभावित भएर लोकप्रीय सञ्चारकर्मी रवि लामिछानेले हतारमा राष्ट्रिय स्वतन्त्र पार्टी खोले र संघीय संसदमा २१ सिट जित्न सफल भए । यसपछि रास्वपाका सरकारमा गयो, लामिछाने गृह तथा उपप्रधानमन्त्री भए भने अरू केही सांसदहरू पनि मन्त्री भए ।

यसबीचमा भएका विभिन्न घटनाक्रमले पुराना दल भनिएका नेपाली कांग्रेस, नेकपा एमाले  नेकपा माओवादीको आलोचना बढिरहेको थियो । नयाँ र वैकल्पिक राजनैतिक दल तथा स्वतन्त्र व्यक्तिहरूप्रतिको बढ्दो आकर्षणले पुराना राजनीतिक दल कमजोर बनेको भाष्य फैलिँदै गएको थियो । भदौ २३ र २४मा भएको जेनजी आन्दोलनले यसलाई उत्कर्षमा पुर्याएको थियो ।

आन्दोलन हुँदा प्रधानमन्त्री रहेका केपी ओली केही दिन सेनाकै सुरक्षा बसे । बालकोटको निवास आन्दोलनका क्रममा जलाइएपछि उनी महेश बस्नेतको सहयोगमा भक्तपुरको गुण्डु गएर बसे । भदौ २३ र २४ गते एमालेका धेरै नेता-कार्यकर्ताले पार्टी छोडेको घोषणा गरिरहेका थिए। पार्टीको मनोबल एकदमै तल गिरेको थियो । गुण्डु हुँदै बिस्तारै सार्वजनिक कार्यक्रममा देखा पर्न थालेपछि ओली आफ्नै लयमा फर्किए । आन्दोलनकारी, सरकार र वैकल्पिक शक्ति भनिएका दलहरूलाई चुनौति दिन थाले । यसले पार्टी कार्यकर्तामा हिम्मत बढ्दै गयो । प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्दै देशैभरी प्रदर्शनका गर्न थालेपछि संगठन पनि चलायमान भयो ।

नेतृत्व हस्तान्तरण गर्न पार्टी सचिवालयमार्फत परेको दबावलाई उनले चलाखीपूर्वक सामना गरे र पार्टीलाई एक वर्ष अगाडी नै महाधिवेशनमा लगे । यसले पार्टीको आत्मविश्वास र सक्रियता दुवै बढायो । भक्तपुरको सल्लाघारीमा भएको महाधिवेशनको उद्घाटन सत्रमा भएको भव्य उपस्थिति र तीन दिन लम्बिएको भृकुटीमण्डपको बन्दसत्रको उत्साहले एमाले कमजोर नभएको सन्देश दिएको छ ।

सल्लाघारीमा महाधिवेशन उद्घाटन समारोहमा ओलीले सन्देश दिएका थिए, ‘कांग्रेस-एमाले भनेका इतिहास बोकेका दल हुन् । पुराना दल यसै कमजोर हुँदैनन् । कमजोर भएको कसैले ठान्छ भने त्यो भ्रम मात्रै हो ।’

दोस्रो, ओलीले अघि सारेको राजनीतिक एजेन्डा पार्टीबाट अनुमोदन ।

जेनजी आन्दोलनपछि आन्दोलनकारीको माग र आन्दोलनकारीको रोजाइमा प्रधामन्त्री बनेकी सुशिला कार्कीको अडानका कारण दलहरूको चाहना विपरित प्रतिनिधि सभा विघटन भएको थियो । प्रधानमन्त्रीबाट ओलीले राजिनामा गरेपछि राजनीतिक दलहरूले प्रतिनिधि सभा कायम राखेर कुनै एक सांसदकै नेतृत्वमा सरकार बनाउनु पर्ने विकल्प अघि सारेका थिए । त्यसमा सफल नभएपछि प्रतिनिधि सभाको बैठक राखेर संविधान संशोधन गर्दै सांसद नभएको व्यक्तिको नेतृत्वमा सरकार बन्ने बाटो खुला गर्ने विकल्प रोजेका थिए । तर, आन्दोलनकारी र प्रस्तावित प्रधानमन्त्री कार्की यसमा पनि राजि भएनन् । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले आवश्यकता सिद्धान्त अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै कार्कीले गरेको प्रतिनिधि सभा विघटन राष्ट्रपतिले अनुमोदन गरेका थिए ।

सार्वजनिक अभिव्यक्ति दिन सुरू गरेदेखि नै ओलीले सरकारलाई असंवैधानिकको संज्ञा दिँदै ओलीले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्धा अघि सारे । उनले यो सरकारले चुनाव नगराउने र गराउन नसक्ने तर्क गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको अडान कायमै राखे । पार्टी भित्रै ईश्वर पोखरेल पक्षले चुनाव हुन नसक्ने अवस्था आएमा मात्रै प्रतिनिधि सभा पुनर्स्थापनामा जानु पर्ने तर्क गरिरहेको थियो ।

महाधिवेशनले अध्यक्षमा ओलीसहित पदाधिकारीमा उनले अघि सारेका लगभग सबै उम्मेद्वारलाई मत दिँदै उनको एजेन्डालाई अनुमोदन गरेको छ । यसले ओलीले अघि सारेको राजनीतिक एजेन्डा अझ बलियो भएको छ । यसले चुनावको तयारी थालेको नेपाली कांग्रेसमा समेत प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्धामा आउन दबाव बढाउने छ ।

एमालेलाई छोएका दिन देश ठप्प हुनुपर्छ, सरकार ढल्नु पर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि कुनै पनि किसिमको भौतिक आक्रमण वा जाली मुद्दा लगाउने प्रयास भए देश ठप्प पार्ने र वर्तमान सरकार ढाल्ने चेतावनी दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित पार्टीको शपथग्रहण समारोहपछि सम्बोधन गर्दै उनले यस्तो कदमको कडा प्रतिकार गर्ने घोषणा गरे ।

अध्यक्ष ओलीले पञ्चायतकालीन दमनकारी अभ्यास दोहोर्‍याउने प्रयास भइरहेको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । ‘हल्ला र प्रचारबाट मात्र होइन, अब भौतिक आक्रमण र जाली मुद्दामार्फत एमाले नेतृत्वलाई निशाना बनाउने प्रयास भइरहेको सुनिन्छ’, उनले भने, ‘एमालेलाई छोएका दिन देश ठप्प हुनुपर्छ । यो सरकार ढल्नु पर्छ र ढल्नेछ ।’

एमाले नेतृत्वमाथि आक्रमण गर्नु महँगो पर्ने चेतावनी दिँदै ओलीले पार्टी पंक्तिलाई व्यवहारमै तयारी देखाउन आग्रह गरे । ‘संसारमा सबैभन्दा महँगो कुरा के हुन्छ भने एमालेलाई छुनु हो’, उनले भने, ‘कुराले होइन, कामले देखाउनु पर्छ ।’ कार्यक्रममै ओलीले राज्य संयन्त्रप्रति अविश्वास व्यक्त गर्दै पार्टीलाई आफ्नै सुरक्षा व्यवस्थामा सचेत रहन निर्देशन दिए । सम्भावित जोखिमतर्फ संकेत गर्दै उनले भने, ‘धोका पाउन सक्छौँ, शान्ति सुरक्षा आफ्नै तर्फबाट गर्नुपर्ने अवस्था आउन सक्छ ।’

अध्यक्ष ओलीले एक साताभित्र पार्टीको सुरक्षा टिम गठन गर्न निर्देशन दिँदै विभिन्न नाममा धम्की आउनसक्ने आशंका पनि व्यक्त गरे । ‘जेनजीको नाममा समेत धाकधम्की आउन सक्छ’, उनले भने, ‘त्यसका लागि एक हप्ताभित्र सुरक्षा टिम तयार पार्नुपर्छ ।’ ओलीको यो अभिव्यक्तिले समसामयिक राजनीतिक वातावरण थप तातेको संकेत दिएको छ भने एमालेले आगामी दिनमा संगठनात्मक र सुरक्षा तयारीलाई प्राथमिकतामा राख्ने स्पष्ट सन्देश दिएको छ ।

म बिनाको एमाले बनाउने प्रयास ध्वस्त भयो : ओली

काठमाडौं । नेकपा एमालेका नव निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले ‘केपी ओली बिनाको एमाले’ भन्ने प्रतिक्रियावादी प्रयास असफल भएको बताएका छन् ।आज (बिहीबार) एमालेको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘केपी ओली बिनाको एमाले भन्ने जुन प्रतिक्रियावादीहरूको चेष्टा थियो, त्यसलाई तपाईंहरूले ध्वस्त पार्नु भएको छ ।’

पार्टी नेतृत्वमा पुनः विश्वास व्यक्त गरिएकोप्रति आभार प्रकट गर्दै उनले यो प्रक्रिया नियमित लोकतान्त्रिक अभ्यास भएको उल्लेख गरे। ‘यो नियमित प्रक्रिया हो, मेरो इतिहास हेरेर तपाईंहरूले फेरि जुन विश्वास दिनुभएको छ, त्यसका लागि म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु,’ ओलीले भने ।

संकटका बेला पार्टीलाई अघि बढाएको नेतृत्वको मूल्यांकन भएको भन्दै उनले थपे, ‘मैले पार्टीलाई अप्ठ्यारोमा परेका बेला चक्रब्यूह तोडेर अगाडि बढाउने नेतृत्व गर्दै आएको छु, त्यसको तपाईंहरूले उचित मूल्यांकन गर्नु भएको छ ।’ ओलीले पार्टी पंक्तिले दिएको विश्वास कायम राख्ने प्रतिबद्धता जनाउँदै भने, ‘तपाईंहरूले गर्नु भएको विश्वास तलमाथि हुन दिइने छैन।सबै प्रकारका हमलाहरूको हामी सामना गर्नेछौँ ।’

एमालेका नव निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मतदानको सबै नतिजा आएपछि अध्यक्ष केपी शर्मा ओलीसहितका सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूले महाधिवेशनस्थल भृकुटीमण्डपमा शपथ लिएका हुन् । उनीहरुलाई एमाले केन्द्रीय निर्वाचन आयोगमा अध्यक्ष विजय सुब्बाले शपथ दिलाएका हुन् । केन्द्रीय सदस्यहरुलाई भने अध्यक्ष केपी शर्मा ओलीले शपथ खुवाएका थिए ।

मिराजको प्रश्न : सुशीला कार्की ज्यू के गर्न प्रधानमन्त्री हुन आउनु भएको हो ?

काठमाडौं । जेन–जी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले विद्रोहपछि गठन भएको अन्तरिम सरकारले अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी गरेका छन् । बिहीवार ‘जेनजी आन्दोलनको एक सय दिन : उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले आन्दोलनकारीका मागअनुसार काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।

उनले विगतका कुनै पनि सरकारले प्रभावकारी काम गर्न नसकेकै कारण मुलुक यस्तो अवस्थामा पुगेको उल्लेख गर्दै सरकारले केही नबिगार्दैमा राम्रो सरकार भन्न नसकिने धारणा राखे । जेन–जी आन्दोलनमा सचेत वर्ग (कन्सियस क्राउड) र निराश वर्ग (फ्रस्टेड क्राउड) सहभागी भएको उल्लेख गर्दै उनीहरुको माग र आवश्यकताअनुसार सरकार अघि बढ्न नसकेको उनको भनाइ छ ।

उनले भने, ‘विगतमा हामीले कुनै पनि राम्रो सरकार पाएनौँ । विगतका सरकारले राम्रो गरिदिएको भए आज यो अवस्था आउने थिएन । यो सरकारले केही बिगारेको छैन । अनैतिक नियुक्तिका कुराहरु पनि आएका छन् । राम्रो काम त हुँदै भएको छ । त्यसकारण बिगारेको छैन भन्दैमा यो सरकारलाई राम्रो भन्न मिल्दैन ।’

उनले भने, ‘जेनजी आन्दोलनमा दुई प्रकारका मान्छे आएका थिए । कन्सियस क्राउड र फ्रस्टेड क्राउड आन्दोलनमा आएका थिए । आन्दोलनपछिको सरकार आन्दोलनकारीको मागअनुसार अघि बढिरहेको छैन । सुशीला कार्की ज्यु केही नगर्नको लागि प्रधानमन्त्री हुन आउनु भएको हो त ? यो सरकारले रोजगारी दिने काम गर्नुपर्ने थियो । शिक्षा र स्वास्थ्यको नागरिकलाई सहज उपलब्ध गराउनुपर्ने थियो । देशमा रोजगारीको सिर्जना गर्नु त कता हो कता जेनजी आन्दोलनका घाइतेहरुलाई वैदेशिक रोजगारीमा पठाउने रे । योभन्दा बेइज्जतीको कुरा केही हुन्छ ?’ उनले सरकारले जेन–जी समूहसँग गरेको सम्झौतालाई ललिपप सम्झौताको संज्ञा दिँदै उक्त सम्झौता सर्वमान्य नभएको टिप्पणी समेत गरे ।

‘सरकारका क्रियाकलाप जेनजी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्’

काठमाडौं । जेन–जी प्रतिनिधि लेनिन बिष्टले सरकारका क्रियाकलाप जेन–जी आन्दोलन र त्यसले उठाएका मुद्दाको पक्षमा नरहेको आरोप लगाएका छन् । बिहीवार ‘जेनजी आन्दोलनको एक सय दिन : उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले जेन–जी आन्दोलनभित्र ३०–४० वटा समूह रहेको उल्लेख गर्दै सबैलाई समेट्न नसकिएको स्वीकार समेत गरे । उनले आन्दोलनलाई लिएर केही समूहलाई सडक पक्ष र केहीलाई सरकार पक्ष भनेर आरोप लगाइने गरेको भन्दै सडक पक्षका जेन–जी युवा पुस्ताल अझै न्याय पाउन नसकेको समेत बताए । उनले सरकारको मन्त्रिपरिषद् गठन, नियुक्ति प्रक्रिया र सरकारका गतिविधि क्रान्तिकारी नभएको समेत आरोप लगाए ।

उनले भने, ‘हामी जेन–जीकै ३०, ४० वटा समूहहरु छौँ । हामीले सबैलाई समेट्न त सकेका छैनौँ । अहिले हामीलाई केही सडक पक्ष केही सरकार पक्ष भनेर आरोप पनि लाग्ने गरेको छ । यहाँको उपस्थिति हेर्दा चाहीँ सडक पक्षले नै एक सय दिन मनाएको जस्तो छ । सरकार पक्षले राम्रो ग¥यो पनि भन्ला तर मन्त्रिपरिषद् गठन र नियुक्ति र उहाँहरुका क्रियाकलाप चाँही क्रान्तिकारी पक्षमा छैन । सरकारको क्रियाकलाप जेनजीको पक्षमा छैन । जेनजीले उठाएको मुद्दाको पक्षमा छैन ।’ उनले अहिलेको जटिल राजनीतिक परिस्थितिलाई हल गर्न विभिन्न विकल्प प्रस्तुत गर्दै निर्वाचन नै सबैभन्दा उपयुक्त विकल्प भएको समेत बताए ।

प्रधानमन्त्रीलाई जेनजीको सुझाव : घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानू

काठमाडौँ । जेनजी प्रतिनिधि किशोरी कार्कीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेकी छन् । बिहीबार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले जेन–जी आन्दोलनकारीका माग सम्बोधन गर्दै शहीद परिवारलाई क्षतिपूर्ति दिन नसक्ने भए पद छोडेर तीर्थ यात्रामा निस्कन प्रधानमन्त्री कार्कीलाई आग्रह समेत गरिन् । उनले देशसँग जोश, जाँगर र नेतृत्व क्षमता भएका शिक्षित युवाहरू रहेको उल्लेख गर्दै परिवर्तित समयसापेक्ष चल्न नसक्ने जोसुकैले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखिन् ।

उनले सरकारले सम्झौताको नाममा काठमाडौँ केन्द्रित आन्दोलनकारीलाई मात्रै हेरेर गाउँमा रहेका जेन–जी युवाहरूलाई उपेक्षा गरेको आरोप समेत लगाइन् । उनले भनिन् ‘म प्रधानमन्त्री ज्यूलाई के भन्न चाहन्छु भने तपाईसँग जेन–जीका माग र शहीद परिवारलाई क्षतिपूर्ति दिनसक्ने क्षमता छैन भने पद छोडेर गइदिनुहोस् । युवाहरू छन् हामीसँग । जोश, जाँगर भएको र देशको लागि अगाडि बढ्छु भन्ने शिक्षित युवाहरू हुनुहुन्छ । शहीद परिवार र घाइते परिवारलाई पनि म के भन्न चाहन्छु भने पटक पटक ठक्कर खाँदै गलत बाटोमा नहिँड्नुहोस् ।’

उनले भनिन्, ‘बरु सही नेतृत्व लिएर सही बाटोमा हिँड्नुस् र २१ फागुनमा आउने निर्वाचनमा तपाईहरू पनि अगाडि बढ्नुहोस् । काठमाडौँमा रहेका आन्दोलनकारीलाई मात्र जेनजी अगुवा भनेर गाउँमा रहेका जेनजीहरुलाई उपेक्षा गरिएको छ । प्रधानमन्त्री ज्यूलाई म के आग्रह गर्न चाहन्छु भने यो बुढेसकालमा काम गर्न सक्नु हुन्न भने तीर्थ यात्रा जानुहोस् । यसरी घाइते र शहीद परिवारको रगतमाथि खेलबाड नगर्नुहोस् । भोलिको दिनमा आरोप झेल्नुको सट्टा सक्षम युवाहरूलाई अगाडि बढाउनुस् ।’ उनले जेन–जी आन्दोलनलाई भावनात्मक रूपमा लिई साइनो लगाउँदै नबस्न समेत कार्कीलाई चेतावनी दिइन् ।

रविलाई थुनामुक्त गर्न अदालतले दिएको आदेशमा के छ ? (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने थुनामुक्त हुने भएका छन् । उच्च अदालत बुटवलले ठूलो रकम धरौटी बुझाउने सर्तमा उनलाई रिहा गर्न आदेश दिएको हो । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो ।

अदालतले कुल २ करोड ६८ लाख रुपैयाँ जमानत रकम बुझाएपछि थुनामुक्त गर्न आदेश दिएको छ । लामिछानेले आफूलाई तोकिएको बिगो रकम सुरक्षित राखी थुनाबाहिर बस्न पाउने मागसहित अदालतमा निवेदन दिएका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले पहिले तोकिएको धरौटी रकममा थप एक करोड रुपैयाँ समेत जम्मा गर्नुपर्ने आदेश दिएको हो ।
अदालतको आदेशअनुसार अब लामिछानेले आफ्नो भागमा पर्ने बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँ सुरक्षित गरेपछि रिहा हुन पाउने छन् । साथै, उनी विदेश जान सक्ने भए पनि त्यसका लागि अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । अदालतले तोकेको शर्त पूरा गरेपछि लामिछाने थुना बाहिर रहने छन् भने मुद्दाको बाँकी प्रक्रिया कानुनी ढंगले अघि बढ्ने छ । यो आदेशलाई राजनीतिक तथा कानुनी वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ, किनकी यो निर्णयले आगामी दिनमा मुद्दाको दिशा र लामिछानेको राजनीतिक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
हेर्नुस् यस्तो छ आदेश

 

रवि लामिछानेलाई रिहा गर्न आदेश

काठमाडौं । उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रिहा गर्न आदेश भएको हो । उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । ’उहाँले पेस गर्ने भनेको धरौटी स्वीकार्ने आदेश भयो,’ अदालतका रजिस्ट्रार अमित उप्रेतीले भने । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानत वापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।

पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता

काबुल ।  गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

मन्त्रालयका अनुसार यी व्यक्तिहरूलाई एक दिन देखि दुई महिना सम्म हिरासतमा राखिएको थियो ।

तिनीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तान फर्केको जनाइएको छ भने आइ पुगे पछि, उनीहरूले आफ्नो गृह प्रान्तहरूमा पुग्नु अघि सीमा क्षेत्रमै सहयोग प्राप्त गरेको जनाइएको छ ।

केही महिना अघि जारी गरिएको देशको विदेश मन्त्रालयको तथ्याङ्कले दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा, बन्दी बनाइएका छन् भने अधिकाशं इरान र पाकिस्तानमा रहेको जनाइएको छ ।

पराजयपछि ईश्वर पोखरेलको विकल्प : भीम रावल हुने कि अष्टलक्ष्मी शाक्य ?

काठमाडौं। नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीसँग भारी मतान्तरले ईश्वर पोखरेल पराजित भए । अध्यक्षमा हार व्यहोरेपछि उनको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ भन्ने प्रश्न सिर्जना भएको छ ।

आठौं महाधिवेशनबाट लोकतान्त्रिक अभ्यास भन्दै नेतृत्वका लागि प्रतिनिधिले सिधै भोट हाल्ने प्रणालीमा गएको एमालेको इतिहासले मूल नेतृत्वमा पराजित उम्मेद्वार पार्टीमा टिक्न नसकेको देखाउँछ । अहिले अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले सातौं महाधिवेशनमा नै पार्टीको लोकतान्त्रिरणको प्रस्ताव पेश गरेका थिए । यसबेला अस्वीकृत भए पनि आठौं महाधिवेशनले यो प्रस्ताव स्वीकार गर्यो र एमालेमा प्रतिनिधिले प्रत्यक्ष मतदान गर्ने बहुपदीय प्रणाली सुरु भयो । यो अधिवेशनमा झलनाथ खनालसँग पराजित भए पनि ओली पार्टीभित्र प्रभावशाली भूमिकामा रहे ।

नवौं महाधिवेशनमा खनाल अध्यक्षका उम्मेद्वार भएनन् । तर, खनालले समेत समर्थन गरेका पूर्वमहासचिव माधवकुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भए । यसपछि एमाले र माओवादीबीच एकता भएर नेकपा बने पनि यो एकता धेरै टिक्न सकेन । संसद विघटनको विवादबीच सर्वोच्चको आदेशबाट एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किए । संसद विघटनकै विवादलाई कारण बनाउँदै नेपाल र खनालले पार्टी विभाजन गरे र नेकपा एकिकृत समाजवादी बनाए । लामो समयदेखि पार्टीको नेतृत्व पंक्तिमा रहेका बामदेव गौतमले पनि यसैबेला पार्टी छोडे । खनाल, नेपाल र गौतमजस्ता पार्टीमा लामो योगदान गरेका नेताहरू बाहिरिनुले कार्यकर्ता र समर्थकलाई दु:खी बनाएको थियो ।

तीन जना हस्तीहरूले पार्टी छोडेपछिको अवस्थामा एमालेको चितवनमा एमालेको दशौं महाधिवेशन भयो । यो महाधिवेशनमा अध्यक्ष ओलीका विरूद्ध तत्कालीन उपाध्यक्ष भीम रावलले उम्मेद्वारी दिएका थिए । तर, दुई हजार एक सय जति प्रतिनिधि रहेको महाधिवेशनमा रावलले तीन सय मत पनि पाउन सकेनन् । रावललाई साथ दिएका घनश्याम भूसालले पनि धेरै भोट पाएनन् । पछि भुसाल एमाले छोडेर माधव नेपाल नेतृत्वको नेकपा एस प्रवेश गरे । रावलले पनि केही समयअघि पार्टी छोडे । जेन्जी आन्दोलनपछि नेकपा एसले माओवादीसँग एकिकरण गरी नेपाली कम्युनिष्ट पार्टी बनाएको छ । रावल पनि यही पार्टीमा मिसिएका छन् । एकता अस्वीकार गरेका घनश्याम भुसाल भने चन्द्रदेव जोशीको नेकपा संयुक्तसँग एकिकरण गरी कार्यवाहक अध्यक्ष भएका छन् ।

मूल नेतृत्वमा पराजित उम्मेद्वारहरूले पार्टी छोड्दै जानुको एउटा कारण सधैंभरी नेतृत्वदायी भूमिकामा रहन खोज्नु हो । कार्यकर्ताबाट मूल नेतृत्वमा पराजित भएका र उमेर पुगेको नेतृत्वले विश्राम लिँदै जाने हो भने यस्तो समस्या झेल्नु पर्ने थिएन । पार्टी विभाजन गरेर सानै भए पनि पार्टीको नेतृत्व गरिराख्ने सोचका कारण नेतृत्वमा पराजित भएका नेताहरू पार्टीमा टिक्न सकिरहेका छैनन् । खासमा, नवौं महाधिवेशनबाट नै सक्रिय राजनीतिबाट बिदा लिएर खनाल र नेपालले विश्राम गर्नु पर्ने थियो । पार्टी छोड्नु भन्दा बामदेव गौतमले पनि यही बाटो रोज्नु उपयुक्त हुन्थ्यो । यसले पार्टीका लाखौं कार्यकर्ता र शुभचिन्तकको उनीहरूप्रतिको सम्मान कायम रहने मात्रै थिएन अझै बढ्ने थियो ।

आफैंले नेतृत्व हस्तान्तरणको मुद्धा उठाएका ईश्वर पोखरेलको हकमा पनि यही कुरा लागु हुनेछ । आठौं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएका पोखरेल नवौं महाधिवेशनमा पनि महासचिवमा दोहोरिएका थिए । त्यसबेला उनले अहिले आफ्नै टिमबाट महासचिव उठाएका सुरेन्द्र पाण्डेलाई पराजित गरेका थिए । दशौं महाधिवेशनबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएर पार्टीमा ‘सेकेण्ड म्यान’को जिम्मेवारी पाएका थिए । अर्थात पछिल्लो १७ वर्ष उनी लगातार पार्टीको शीर्ष नेतृत्व तहमा थिए । त्यसैले, यो महाधिवेशनमा उनले आफैं उठाएको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्धालाई सम्मान गर्दै सक्रिय राजनीतिबाट बिदा हुनु उपयुक्त हुन्छ ।

केपी शर्मा ओलीको विपक्षमा रहेको समूहले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको जुन मुद्धा उठाएको थियो, त्यसका लागि पोखरेल आफैं उपयुक्त पात्र थिएनन् । ७० वर्ष काटिसकेका उनी उमेर र नेतृत्वमा पाएको अवसर ‍हिसाबले पनि केपी शर्मा ओलीकै हाराहारीमा थिए । नेतृत्व भनेको अध्यक्ष मात्रै होइन, अध्यक्ष पछिको सर्वाधिक शक्तिशाली महासचिव र दोस्रो बरियताको बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा उनी थिए । राज्यसत्तामा प्रतिनिधित्व गर्ने सवालमा पनि उनले पटकपटक अवसर पाइसकेका छन् । त्यसैले, अब उनले यो स्थान नेतृत्वको रुपमा विकास हुँदै गरेका गोकर्ण विष्ट र योगेश भट्टराईहरुका लागि खालि गर्नु आवश्यक छ ।

७० वर्षे उमेर हदका पक्षमा पटक-पटक बोलेका पोखरेलले कम्तिमा व्यक्तिगत रुपमा यो एजेन्डा आफैंमा लागु गर्नु नैतिक हिसाबले महत्वपूर्ण हुन्छ । त्यसैले, ईश्वर पोखरेलले माधव-झलनाथ-बामदेव र भीम रावलको बाटो होइन, यो महाधिवेशनमा उनलाई साथ दिएका अष्टलक्ष्मी र युवराज ज्ञवालीको बाटो रोजे उनको व्यक्ति सम्मान मात्रै बढ्ने छैन, उनी आफैंले उठाएको एजेन्डाको पनि सम्मान हुनेछ । उमेर पुगेपछि राजनीतिबाट विश्राम लिनुपर्छ भन्ने वकालत गर्ने पोखरेलले केशब बडाल, अमृत बोहोराको पथमा हिडे पार्टीभित्र उनको सम्मान कायम रहन्छ भने भविष्यमा यो एजेन्डाले बल पनि पाउँछ ।

डोपिङ सूचीमा बन्यो भारत फेरि पहिलो

नयाँदिल्ली ।  विश्व एन्टी–डोपिङ एजेन्सी(वाडा)ले लगातार तेस्रो वर्ष भारतलाई विश्वव्यापी खेलकुद डोपिङ ठगीको सूचीमा सबैभन्दा खराब प्रदर्शन गर्ने देशका रूपमा घोषणा गरेको छ । वाडाले यसलाई भारतका लागि ‘सन्देहास्पद ह्याट्रिक’ को संज्ञा दिँदै गम्भीर चिन्ताको विषय भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय निगरानी निकाय वाडाले मङ्गलबार राति सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार भारतको नेसनल एन्टी–डोपिङ एजेन्सी(नाडा) ले सन् २०२४ मा पिसाब र रगतका गरी सात हजार ११३ नमूना सङ्कलन गरेको थियो । ती मध्ये २६० नमूना डोपिङका लागि पोजिटिभ देखिएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०३० को राष्ट्रमण्डल खेलकुद आयोजना गर्ने तयारीमा रहेको भारतका लागि यी निष्कर्षहरू ठूलो झट्काका रूपमा आएको छ । उक्त प्रतियोगिता सन् २०३६ को ओलम्पिक आयोजना गर्ने भारतको दीर्घकालीन महत्त्वाकांक्षातर्फको एक महत्त्वपूर्ण पाइला मानिन्छ ।

प्रतिवेदन अनुसार गत वर्ष सबैभन्दा धेरै डोपिङ घटना एथलेटिक्समा देखिएका छन्, जहाँ ७६ खेलाडी पोजिटिभ फेला परेका थिए । त्यसपछि भारोत्तोलनमा ४३ र कुस्तीमा २९ डोपिङका घटना देखिएका छन् ।

यसै वर्ष जुलाईमा अन्डर–२३ कुस्ती च्याम्पियन तथा पेरिस ओलम्पिक क्वार्टरफाइनलिस्ट रितिका हुडाले डोपिङ परीक्षणमा सकारात्मक नतिजा देखाएपछि उनलाई अस्थायी रूपमा निलम्बन गरिएको थियो । त्यस्तै, यस महिनाको सुरुमा भारतमा आयोजना भएको युनिभर्सिटी गेम्सका क्रममा डोपिङ विरोधी अधिकारीहरूको कडा निगरानीका कारण केही खेलाडी भागेपछि केही ट्र्याक एन्ड फिल्ड प्रतियोगितामा एक जना मात्र खेलाडी प्रतिस्पर्धामा उत्रिएको रिपोर्टहरू पनि सार्वजनिक भएका थिए ।

एक अर्ब ४० करोड जनसङ्ख्या भएको विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत सन् २०२२ र २०२३ मा पनि डोपिङ ठगीको सूचीमा पहिलो स्थानमा रहेको थियो, जसले यो समस्या दीर्घकालीन रहेको देखाउँछ ।

वाडाको प्रतिवेदनअनुसार सन् २०२४ मा फ्रान्स ९१ वटा सकारात्मक मामिलासहित सूचीमा अर्को उच्च स्थानमा रहेको छ भने इटाली ८५ मामिलासहित तेस्रो स्थानमा छ । रुस र संयुक्त राज्य अमेरिका दुवै ७६–७६ मामिलासहित त्यसपछि रहेका छन् । जर्मनीमा ५४ र चीनमा ४३ डोपिङका घटना दर्ता भएका छन् ।  प्रतिवेदन सार्वजनिक भएपछि नाडा भारतले डोपिङविरुद्धको आफ्नो अभियानको बचाउ गरेको छ । नाडाले बुधबार जारी गरेको विज्ञप्तिमा स्पष्ट पार्दै भनेको छ, ‘हालका वर्षहरूमा भारतले आफ्नो एन्टी–डोपिङ ढाँचामा उल्लेखनीय सुदृढीकरण गरेको छ । ’ नाडाका अनुसार परीक्षणको सङ्ख्या मात्र बढाइएको छैन, खेलकुदमा डोपिङको जोखिम न्यूनीकरण गर्न शिक्षा र जनचेतनामा पनि विशेष जोड दिइएको छ ।

नाडाले यसै वर्ष डिसेम्बर १६ सम्म सात हजार ६८ परीक्षण सम्पन्न भएको र तीमध्ये ११० नमूना पोजिटिभ देखिएको जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले भारतमा प्रदर्शन बढाउने औषधिहरूको व्यापक प्रयोगप्रति चिन्ता व्यक्त गर्दै देशलाई आफ्नो आन्तरिक व्यवस्थापन सुधार गर्न आग्रह गरेको केही महिनापछि वाडाको यो प्रतिवेदन सार्वजनिक भएको हो । आइओसीले भारतको खराब डोपिङ रेकर्डलाई गम्भीर रूपमा लिएको सङ्केत दिएपछि भारतीय ओलम्पिक सङ्घले गत अगस्टमा नयाँ एन्टी–डोपिङ प्यानल गठन गरेको थियो ।

यसका साथै भारत सरकारले खेलकुद क्षेत्रमा कडाइका साथ नियम कार्यान्वयन गर्न, परीक्षण पूर्वाधार विस्तार गर्न तथा ‘खेलकुदको अखण्डताको उच्च मापदण्ड सुनिश्चित गर्न’ नयाँ राष्ट्रिय डोपिङ विरोधी विधेयक पनि पारित गरिसकेको छ ।

गोकर्ण र योगेशले बचाए ईश्वरको ‘साख’

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओली र उनको टिमको दबदबा झनै सुदृढ बनेको छ । १९ सदस्यीय पदाधिकारी चयनमा अधिकांश पद ओली पक्षले हात पारे पनि ईश्वर पोखरेल समूहबाट दुई जना नेताले निर्वाचन जित्दै पार्टीभित्रको प्रतिपक्षी धारको राजनीतिक साख जोगाएका छन् ।

उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएसँगै पोखरेल समूह पूर्णरूपमा कमजोर भएको सन्देश जानबाट जोगिएको विश्लेषण गरिएको छ । यी दुई नेताको जितलाई एमालेभित्र ‘प्रतिपक्षी आवाज जोगिएको संकेत’ का रूपमा हेरिएको छ । उपाध्यक्षमा गोकर्ण विष्टले १,३६८ मत प्राप्त गर्दै संस्थापन पक्षका गुरू बराललाई पराजित गरे । पाँच उपाध्यक्षमध्ये विष्ट चौथो स्थानमा रहेर निर्वाचित भए । त्यस्तै उपमहासचिवमा योगेश भट्टराईले १,३४८ मत ल्याउँदै संस्थापन पक्षका विष्णु रिमाललाई पछि पार्दै तेस्रो स्थानमा पदाधिकारी बन्न सफल भए।

विष्ट र भट्टराई दुवै जना यस पटक ईश्वर पोखरेललाई अध्यक्ष र सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने रणनीतिक टिमका मुख्य डिजाइनर मानिन्थे । एमालेभित्र ‘१० बुँदे सहमति पक्षधर’ भनेर चिनिने यी नेताहरू माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गरेपछि ओलीसँग सहमति गरेर पार्टीभित्रै बसेका थिए । यही समूहले यस महाधिवेशनमा ओली नेतृत्वलाई आन्तरिक चुनौती दिएको थियो । गुल्मीका नेता गोकर्ण विष्ट पूर्वमन्त्री तथा एमालेको भ्रातृसंस्था युवा संघका पूर्व अध्यक्ष हुन् । उनी दशौं महाधिवेशनबाट सचिव बनेका थिए। त्यस्तै ताप्लेजुङका नेता योगेश भट्टराई पनि दशौं महाधिवेशनबाट सचिव बनेका हुन् । अनेरास्ववियुको पृष्ठभूमिबाट उदाएका भट्टराई अखिलका पूर्व अध्यक्ष समेत हुन् ।

महाधिवेशनअघि ओलीसँग निकट मानिएका विष्णु रिमालले सामाजिक सञ्जालमार्फत योगेश भट्टराईमाथि कटाक्ष गरेका थिए । ओलीले ताप्लेजुङ पुगेर भाषण गरे पनि पछि सहयोग नगरेको भन्दै आलोचना गरेका रिमाललाई यसै निर्वाचनमा योगेशले पराजित गर्नु एमालेभित्र चासोका साथ हेरिएको छ ।

निर्वाचनपछि योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेको खुलेर प्रशंसा गरे । उनले लेखेका छन्, ‘कमरेड ईश्वर पोखरेल र कमरेड सुरेन्द्र पाण्डे तपाईंहरूको इमान, निष्ठा र साहसप्रति उच्च सम्मान व्यक्त गर्दछु । पार्टी सदस्य र आम जनसमुदायको निगरानी र परीक्षामा सदा रहिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उता नवनिर्वाचित उपाध्यक्ष गोकर्ण विष्टले पनि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी रूपान्तरणको अभियानमा नेतृत्व गरेको भन्दै ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई सम्मान जनाएका छन् ।

साथै उनले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायत अग्रज नेताहरूले देखाएको उच्च नैतिकता र त्यागको खुलेर प्रशंसा गरेका छन् । विष्टले अध्यक्ष केपी शर्मा ओलीसहित निर्वाचित सम्पूर्ण नेताहरूलाई बधाई दिँदै संगठित प्रयत्नमार्फत पार्टीलाई सबल, गतिशील र एकताबद्ध बनाउने तथा देशलाई अन्यौल र निराशाबाट निकाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समग्रमा, ११ औं महाधिवेशनले एमालेमा ओली नेतृत्वको वर्चस्वलाई संस्थागत गरे पनि गोकर्ण विष्ट र योगेश भट्टराईको जितले पार्टीभित्र वैकल्पिक धार र बहसको ठाउँ अझै जीवित रहेको सन्देश दिएको छ ।