`

गृहमन्त्री लेखक र सचिव दुवाडीले गरे कार्यसम्पादन सम्झौता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

आइतबार गृह मन्त्रालयमा आर्थिक वर्ष २०८२/०८३ को लागि मन्त्रालयका गृह सचिव एवं संगठन प्रमुख, महाशाखा र विभागीय प्रमुख गोकर्णमणी दुवाडीसँग कार्यसम्पादन सम्झौता गर्दै गृहमन्त्री लेखकले लागूऔषध, सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम नियन्त्रणमा पहिलो वर्ष काम भए पनि परिणाम आउन समय लाग्ने बताए ।

‘लागूऔषध, सडक दुर्घटना, साइबरक्राइम, आत्महत्या गरी चार वटै विषय अहिलेका नयाँ चुनौती हुन्, विशेष रुपमा काम भएको छ परिणाम आउन थोरै समय लाग्ला’, उनले भने, ‘यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ ।’

त्यसै गरी पश्चिम नेपाल भूकम्पको विस्तृत क्षति आँकलन भइरहेको भन्दै चालु आर्थिक वर्षभित्र पुनर्निर्माण सक्ने गरी काम गर्न निर्देशन समेत दिए ।

उनले गत आर्थिक वर्षमा तोकिएको माइलस्टोनमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति गरेकोप्रति बधाई एवं धन्यवाद ज्ञापन गरे ।

‘अहिलेको आवश्यकता अनुसार थप नयाँ कुरा के गर्न सकिन्छ, नीति, योजना तयार गरेर अघि बढ्नुस्’, गृहमन्त्री लेखकले भने, ‘सीमित स्रोत साधन, जनशक्ति र बजेटको सिमाभित्र बसेर काम गर्नुपर्छ ।’

कार्य सम्पादन सामूहिक काम भएको बताउँदै उनले जस/अपजस सामूहिक रूपले लिनुपर्नेमा जोड दिए । त्यसै गरी मन्त्रालयको नेतृत्वमा आउँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी विधेयक अघि बढाएको बताउँदै प्रतिनिधि सभामा केही जटिलताका कारण रोकिएको बताए ।

‘पाइपलाइनमा रहेका कानुन विधेयक यो महिनाभित्र प्रतिनिधि सभामा दर्ता गर्ने गरी काम अगाडि बढाउनुस्’, उनले भने, ‘मन्त्रालयको नीतिगत र कानुनी सुधार हाम्रो प्राथमिकताको विषय हो, सोही अनुसार काम अघि बढेको छ ।’

काभ्रेको भुम्लुवासीले ५० वर्षपछि लालपुर्जा पाउने

काभ्रेपलाञ्चोक । जिल्लाको भुम्लु गाउँपालिकाको दुई वडामा पाँच दशक अघिदेखि विद्यामान लालपुर्जाको समस्या समाधान हुने भएको छ ।

विसं २०३२ देखि गाउँपालिकाको ९तत्कालीन भुम्लु र फलाँटे गाविस० हालका दुई वडाका बासिन्दा लालपुर्जाको पखाईमा थिए । जिल्लास्थित नापी कार्यालयले भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा लालपुर्जा वितरण कार्यको थालनी गर्ने भएको हो ।

कार्यालयका अनुसार हाल दुई वडाका चार सय ५० वटा लालपुर्जा बनेको छ भने सोही हाराहारीमा छानबिन गरी लालपुर्जा बनाउन बाँकी छ । कार्यालय प्रमुख अशोककुमार भुसालले वडा नं ७ मा तीन सय र वडा नं ८ मा छ सय लालपुर्जा बनाउनुपर्ने देखिएको बताए । उनका अनुसार उक्त गाउँपालिकाको समस्याग्रस्त दुई वडामा छानबिनका लागि विसं २०७१ जेठ २५ गतेदेखि नापी टोली गाउँमा खटाएको थियो ।

कार्यालयले नापी टोली खटाएको ११ वर्षपछि स्थानीय जग्गाधनीले आफ्नो जग्गाको लालपुर्जा पाउने भएका हुन् । घटनाक्रम अनुसार साविकको पिपलटार गाविस हुँदादेखि कमाइ गर्दै आइएको ‘टार’ भन्ने खेतीयोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि उक्त जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद भएको थियो । विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयले लालपुर्जा पाउन सकेका थिएनन् ।

विसं २०३५ मा नापी टोली पुनः उक्त गाविसमा जाँदा जग्गाको विषयमा विवाद चर्किएपछि काम नगरी फर्किएको थियो । कार्यालयले लालपुर्जा वितरण गरेपछि जग्गासम्बन्धी सबै स्रेस्ता मालपोत कार्यालय, नक्सालगायत कागजात नापी कार्यालयमा ल्याई जग्गा प्रशासनको नयाँ काम सुरु हुने जनाएको छ । केही जग्गाधनीले आफ्नो जग्गाको ‘लगत–भिड्ने’ आवश्यक कागजात नल्याउँदा काम गर्न समस्या भएको भुसालले बताए ।

तत्कालीन समयमा उक्त स्थानमा बसेका नागरिक बसाइँसराइ एवं केहीले तिरोतिरेको आधारमा जग्गा बिक्री गरेकाले थप समस्या देखिएको जनाइएको छ । उक्त स्थानमा लालपुर्जाको समस्या वषौँसम्म समाधान नभएपछि पटकपटक समस्या समाधान अध्ययन समितिसमेत गठन गरिएको थियो । साथै कयौँपटक सरकारीस्तरबाट ‘स्थलगत अनुगमन–निरीक्षण’ गर्दा पनि यसअघि कुनै निकास निीस्कएको थिएन ।

यसैबीच भुम्लु गाउँपालिकाले गत वर्ष मङ्सिरमा निवेदन छुटेका स्थानीयसँग पुनः निवेदन माग गरेपछि गत पुस २ गतेदेखि स्थानीयको जग्गासम्बन्धी पुनः छानबिन सुरु गरिएको थियो । केही वर्षअघि निवेदन माग भएबमोजिम हालसम्म गाउँपालिका कार्यालयमा एक हजारभन्दा बढी निवेदन परेको जनाइएको छ ।

त्यसयता नापी हुनुभन्दा अघि भोगचलन तथा त्यसअघिको कागजातका आधारमा हाल कसको नाममा आएकोसम्म छानबिन गरी जग्गाधनी यकीन गर्न थालिएको थियो । विसं २०८१ कात्तिक दोस्रो सातामन्त्री अधिकारीले स्थलगत अनुगमन, निरीक्षण तथा निर्देशनपछि समस्या सुल्झाउने उद्देश्यले गाउँपालिका कार्यालयले स्थानीयसँग छुट निवेदन माग गरेको थियो ।

मन्त्री अधिकारीले सो अवसरमा यही वर्षभित्र लालपुर्जाको समस्या समाधान गर्न गाउँपालिकासहित सरोकार भएका निकायलाई ‘आधार’सहित आएका निवेदनउपर छानबिन गरी लालपुर्जा तयार गर्न निर्देशन दिएपछि थप प्रक्रिया थालिएको हो । गाउँपालिकामा आएका निवदेन छानबिन गर्दा प्रारम्भिक चरणमा करिब एक हजार परिवार समस्यामा रहेको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाउन लक्ष्य

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाउने लक्ष्य रहेको बताएका छन् । गोरखा सदरमुकामस्थित गोरखा एनपिआई हस्पिटलको आज उद्घाटन गर्दै उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर चालु आर्थिक वर्षमा कूल बजेटको १० प्रतिशत रकम विनियोजन गरेको जानकारी दिए ।

गण्डकीलाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना औँंल्याउँदै मुख्यमन्त्री पाण्डेले सोही उद्देश्यका साथ योजनाबद्ध काम भइरहेको उल्लेख गरेका छन् । “आफू मुख्यमन्त्री हुँदा प्रदेशभरिका अस्पतालमा १६५ शय्या मात्र रहेकामा अहिले ६५० शय्यामा विस्तार भएका छन्”, उनले भने । स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र निजी क्षेत्रमा लगानीको वातावरण तयार पारेर रोजगारीका प्रशस्त अवसर सिर्जना गर्न सकिने उनको धारणा रहेको छ ।

“नयाँ अवसर सिर्जना नगरी युवालाई विदेश पठाउनबाट रोक्न सकिँदैन्”, मुख्यमन्त्री पाण्डेले भने, “स्वास्थ्य क्षेत्रमा रोजगारी सिर्जना हाम्रो अर्को लक्ष्य हो, विशेषज्ञ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अब प्रदेशमा आकर्षक रोजगारीको अवसर सिर्जना गर्नेतर्फ हामी जुटेका छौँ ।” अस्पताल र स्वास्थ्य संस्था विस्तारसँगै निजी क्षेत्रलाई लगानीमा प्रोत्साहित गर्ने नीति सरकारले लिएको उनले बताए।

“जनताको स्वास्थ्य सेवा सर्वोपरी हो, त्यसमा कुनै कमी हुनुहुँदैन”, मुख्यमन्त्री पाण्डेले भने, “गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रमा अब्बल बन्न सक्छ, त्यसका लागि स्वास्थ्य पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने जरुरी छ ।” उनले निजी क्षेत्रलाई लगानीका लागि प्रदेश सरकारका कुनै नीति तथा कानुन बाधक भए आवश्यक छलफल गरेर संशोधन गर्न सकिने जानकारी दिए ।

साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली टोलीको बिदाइ (तस्बिरहरु)

काठमाडौँ । भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली टोलीलाई बिदाई गरिएको छ ।

साफ यू–१७ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको प्रशिक्षक तथा कप्तानले बताएका छन् । यही भदौ ४ गतेदेखि १५ गतेसम्म भुटानमा साफ यु–१७ महिला च्याम्पियनसिप २०२५ आयोजना हुँदैछ ।

 

साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ

 

महोत्तरी । साउन अन्तिम साताको अनुकूल वर्षा भएसँगै महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ भएको छ । साउनको अन्तिम साता दिनहुँजसो पानी परेपछि धमाधम रोपाइँ भई करिब तीन भाग जमिनमा धानखेती भएको हो । साउन दोस्रो सातासम्म करिब ३० प्रतिशत मात्र रोपाइँ भएकोमा तेस्रो साता बित्दा लगभग ४५ प्रतिशत पुगेको र मसान्तसम्म करिब ७५ प्रतिशत हाराहारी रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ ।

“साउनको पछिल्लो साता आकासे पानीले पनि साथ दियो, किसानले भूमिगत जलस्रोतका विकल्पलाई निकै उपयोग गरे, यसले रोपाइँ बढाउन मद्दत ग¥यो” बालीविज्ञसमेत रहेका कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो भन्छन , “साउन सकिदासकिँदै धान रोपाइँ ७५ प्रतिशतको हाराहारी पुग्यो ।” मधेशका अन्य जिल्लाको तुलनामा निकैपछि परेको महोत्तरीको धान रोपाइँले साउन तेस्रो साताको प्रारम्भदेखि नै गति लिएको हो । इनार, डिपबोरिङ र स्यालो ट्युवबेलबाट मोटरपम्प र पम्पसेटले पानी तानेर रोपाइँ गरिरहेका किसानलाई साउनको अन्त्यतिर लगातार परेको पानीले निकै राहत दियो ।

“साउन दोस्रो सातासम्म एक कठ्ठा हिल्याउन तीन घण्टा बढी मोटरपम्प र पम्पिसेट चलाउनु प्रथ्र्यो, त्यसयता अलिअलि पानी पर्न थालेपछि तानेको पानी चाँडै लाग्दा सहज हुँदैगयो” भङ्गाहा–५ सिद्धपुरका शनिश्चर बाँतर भन्छन् , “साउन अन्तिम साता सुरु भएसँगै माटो गलेर पानी पर्न थाल्यो, यसले रोपाइँलाई निकै मद्दत ग¥यो । आफ्नो बस्तीमा साउन सकिदासकिँदै रोपाइँ पनि सकियो, अहिले यहाँका स्थानीय किसान खुसी छन् ।”साउन मध्ययता दिनहुँजसो परेको पानीले यहाँका किसानलाई अब भने धान भित्रिने आस जागेको छ । मध्य साउनपछिको वर्षा धानखेतीलाई अमृत झैँं भएको किसान बताउँछन् । बाँतरकै छिमेकी रामनारायण झा भन्छन्, “दुःखले धान रोपियो, अब मङ्सिरमा केही धान भित्रिने आस जाग्यो ।”

जिल्लामा सुदूरउत्तर, पूर्वीभेग र मध्यसम्म रोपाइँ राम्रो भए पनि दक्षिणपश्चिमी भेगमा भने अझै पनि पानी अपुग छ । जिल्लाका १५ स्थानीयतहमध्ये मनराशीशवा, सम्सी, एकडारा र सोनमासहितका ५÷६ पालिकामा पानी अपूग हुँदा रोपाइँपछि परेको किसानको भनाइ छ । “हामीकहाँ पानी पुगेन, भूमिगत जलस्रोत पनि भरपर्दो हुनसकेन, त्यसैले रोपाइँपछि प¥यो” मनराशीशवा नगरपालिकाको साँढा बस्तीका चन्द्रभूषण मौव्वार भन्छन् , “अब त रोप्ने बेला पानी दर्कियो, सरकारले किसानलाई समयमै अरु बाली लगाउन भरथेग गर्नुपर्छ ।”

जिल्लाका केही भेगमा रोपाइँपछि परेपनि अधिकांश भेगमा भने किसानले मरिहत्ते गरेर धान रोपेका छन् । “साउन तेस्रो साताको प्रारम्भसँगै अलिअलि पानी पर्न थालेपछि रोपाइँले गति लिएको हो, पानी पर्न थालेपछि भूमिगत पानीको सिँचाइ सहज र कम खर्चिलो भएसँगै किसानले रोपाइँको गति बढाएका हुन्” कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयका सूचना अधिकारी महतो भन्छन् , “साउन चौथोसाता लागेपछि त ठाउँठाउँमा परेकै पानीले रोपाइँ हुन थाल्यो, कतिपय ठाउँमा भूमिगत जलस्रोतको पानीलाई वर्षाले साथ दियो ।” साउन अन्तिम साताको वर्षाले यसअघि रोपिएको धान जगाउन र रोपाइँ बढाउन निकै राहत मिलेको महतो बताउछन् । जिल्लामा अहिलेसम्म करिब ३३ हजार ३५० हेक्टरमा रोपाइँ भएको छ । यो धानखेती गरिने कूल ४५ हजार हेक्टरको ७५ प्रतिशतको हाराहारी हो ।

साउन मध्ययता इनार, स्यालोट्युवबेल र डिपबोरिङबाट तानिएको पानीले वर्षाको साथ पाउँदा कम समयमा बढी खेत हिल्याउन सहयोग पुगेको किसान बताउँछन् । पानी परिरहँदा भूमिगत तानिएको पानीले चाँडै खेत हिल्याउन सहयोग पुगेको किसानको भनाइ छ । “कसैगरी धान रोपियो, मोटरपम्प र पम्पिसेटबाट तानिएको पानीमा वर्षाको साथ मिल्यो” बर्दिबास–७ प्रेमनगरका किसान रामऔतार महतो भन्छन्, “हामीकहाँ अब लगभग धान रोपाइँ सकियो ।” साउन १५ यता दिनहुँजसो केहीबेर पानी पर्दै आएपछि त्यसअघिको धजा फाटेको खेतको रोपो हरियो भएर लहलहाएपछि अबचाहीँ घरमा धान भित्रिने आस जागेको महतोको भनाइ छ ।

साउन सकिँदा पनि किसान अझै रोपाइँमा धसिएका छन् । अब बढीमा २/३ दिन अझै रोपाइँ चल्ने कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयका कृषिविज्ञको भनाइ छ । किसानको तयारी अवस्थालाई हेर्दा रोपाइँ ८० प्रतिशत पुग्ने अनुमान गरिएको कार्यालयका सूचना अधिकारी महतो बताउछन् । यद्यपि अब यसपाली खरुअन (कलम) नहुर्कदा मूल बीउको रोपो १/२ दिनभन्दा बढी लम्ब्याउन नहुने किसानलाई बालीविज्ञको सुझाव छ । यसपालि लामो खडेरीले असार २२ भित्र सक्नुपर्ने बीउ रोपो किसान अझै रोप्दैछन् । खरुअन (कलम) लगाउन यसअघिको रोपो नगाजिँदा अहिले पनि बीउ रोप नै चलाउनु परेको किसानको भनाइ छ । यसपाली बीउ ब्याडमै कैयौँ चोटी सुक्दा किसानले पटकपटक ब्याड राख्नुपरेको थियो । पछि बीउकै अभावले कतिपय किसानले पानी अनुकूल हुँदा पनि रोपाइँ बढाउन सकेनन् ।

यसपालि रोपाइँ ढिलो भएको हुँदा अस्वभाविक रुपमा कीरा र रोगको प्रकोप सुरु हुनसक्नेतर्फ सचेत रहन र तत्काल सल्लाह लिन कृषि विज्ञले किसानलाई सुझाएका छन् । यसैगरी साउन मध्यअघिको रोपोमा झार व्यवस्थापनमा तत्काल ध्यान दिन किसानलाई कृषि विज्ञसमेत रहेका सूचना अधिकारी महतोको सुझाव छ । महोत्तरीसहितका मधेशमा हिउँदे धान लगाउने स्थापित तालिका यसपाली पानीको अभाव र समयमा भरपर्दो बीउ नभेटिदा पछि परेको छ । यहाँ हिउँदे धानखेतीका लागि जेठ तेस्रो साताभित्र ब्याड राख्ने, असार तेस्रो साताभित्र पहिलो शाही रोप (बीउ रोप) सक्ने र साउन मसान्तसम्म खरुअन (कलम, धानको बीउ रोप गाँजिएपछि त्यो उखलेर रोप्ने काम) रोप लगाउने परम्परागत तालिका छ । किसानले यो तालिकाभित्र पानी, बीउ र मल नपाइँदा हण्डर खानु परेको बताएका छन् । तीनै तहका सरकारसँग समयमै धानखेतीका लागि आवश्यक पानी, मल, बीउसहितको वातावरण सुनिश्चित गरिदिन किसानले माग गरेका छन् ।

पाकिस्तानमा बाढी : ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता

बाबर (पाकिस्तान)। उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको ज्यान गएको छ भने एक सय ५० जनाभन्दा बढी बेपत्ता भएको प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख असफान्डियार खट्टकले आइतबार बताएका छन् ।

हजारौँ उद्धारकर्मी वर्षा र माटोको भारी चपेटाबीच बाँचेका मानिसहरूलाई खोज्दै भग्नावशेषमुनि दबिएका घरहरू उत्खनन गरिरहेका छन् ।

“बुनेर जिल्लामा मात्रै करिब १५० जना अझै बेपत्ता छन् । उनीहरू भग्नावशेषमुनि फसेका वा बाढीले बगाएको हुन सक्छ”, खट्टकले भने । उनका अनुसार साङ्ला जिल्लामा पनि दर्जनौँ मानिस बेपत्ता छन् ।

सबैभन्दा बढी क्षति बुनेरमै भएको छ । त्यहाँ कम्तीमा दुई सय आठ जनाको मृत्यु भएको र करिब १०–१२ गाउँ आंशिक रूपमा पुरिएको प्रान्तीय उद्धार प्रवक्ताले बताए ।

“भग्नावशेषमुनि फसेकाहरूको उद्धार कार्य जारी छ”, उद्धार एजेन्सीका प्रवक्ता बिलाल अहमद फैजीले भने । उनका अनुसार करिब दुई हजार उद्धारकर्मी नौ जिल्लामा राहत कार्यमा खटिएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तको पहाडी जिल्ला बुनेरमा शुक्रबार आरी घोप्टे मनसुनी वर्षा भएपछि आकस्मिक बाढी र पहिरो आएको थियो ।

आपत्कालीन सेवाका प्रवक्ता मोहम्मद सोहेलका अनुसार क्षतिग्रस्त सडकहरू मध्ये आधाभन्दा बढी खोलिएपछि दुर्गम गाउँसम्म सवारीसाधन र भारी मेसिनरी पुग्न थालेका छन् । प्रहरी र उद्धारकर्मीहरू ढुङ्गा–माटो पन्छाउँदै ध्वस्त घरका भग्नावशेषमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

सबैभन्दा ठूलो दुर्घटना कादर नगर गाउँमा भएको छ । त्यहाँ विवाहको पूर्वसन्ध्यामा बाढीको पानी घरमा पस्दा एउटै परिवारका २४ जनाको ज्यान गएको छ । परिवारका प्रमुख उमर खान भने घरबाहिर भएकाले बाँच्न सफल भए । उनका चार आफन्त अझै बेपत्ता छन् ।

प्रान्तीय मुख्यमन्त्री अली अमिन गन्धापुरले शनिबार बुनेर पुगेर मृतकका परिवारलाई २० लाख रुपैयाँ (करिब सात हजार दुई सय डलर) सहयोग दिने घोषणा गरेका छन् । उनले पाल, खाना र सफा पिउने पानीको व्यवस्था गरी पानीजन्य रोग फैलिन नदिन पहल भइरहेको पनि बताए ।

प्रधानमन्त्री शाहबाज सरिफले राहत कार्य प्रत्यक्ष निगरानी गरिरहेको र तत्काल सहायताको वितरण, फसेकाहरूको उद्धार तथा बेपत्ता व्यक्तिहरूको खोजीलाई तीव्र बनाउन निर्देशन दिएको सरकारी विज्ञप्तिमा उल्लेख छ ।

विपद् व्यवस्थापन प्राधिकरणले अगस्ट १७ देखि १९ सम्म थप बाढी र पहिरोको चेतावनी दिँदै स्थानीय प्रशासनलाई सतर्क रहन आग्रह गरेको छ । यस वर्ष जुन २६ देखि शुरु भएको मनसुनमा हालसम्म छ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

सन् २०२२ मा पाकिस्तानमा आएको कीर्तिमानी मनसुनी वर्षाले करिब एक हजार सात सय जनाको ज्यान लिएको थियो र लाखौँ घर ध्वस्त पारेको थियो । हरेक वर्ष जुनदेखि सेप्टेम्बरसम्मको मनसुनमा विशेष गरी उत्तरपश्चिमी पहाडी क्षेत्रका गाउँहरू आकस्मिक बाढी र पहिरोको जोखिममा पर्छन् ।

विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण दक्षिण एसियामा यस्ता चरम मौसमी घटनाहरू अझै धेरै र गम्भीर बन्दै गएका छन् ।

यसैबीच, भारत प्रशासित काश्मीरमा पनि भारी वर्षापछि आकस्मिक बाढी आएको छ । कठुआ जिल्लामा कम्तीमा सात जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।

किश्तवार जिल्लाको दुर्गम चोसिती गाउँमा तीन दिनअघि आएको बाढीपछि उद्धार टोलीले अझै खोजी कार्य जारी राखेको छ । यस घटनामा कम्तीमा ६० जनाको मृत्यु र एक सय ५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये करिब ५० जनाको अवस्था गम्भीर छ ।

बाढी वार्षिक हिन्दू तीर्थयात्रा भइरहेका बेला आएको थियो । अधिकारीहरूले तीन सयभन्दा बढीलाई उद्धार गरेका छन् भने करिब चार हजार तीर्थयात्रीलाई सुरक्षित स्थानमा सारिएको छ ।

वैदेशिक यात्राका लागि अध्यागमन विभागले गर्‍यो एयरलाइन्सदेखि ट्राभल्ससम्मलाई यस्तो अनुरोध

काठमाडौँ । अध्यागमन विभागले सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक यात्राका लागि विभिन्न ७ पक्षलाई अनुरोध गरेको छ ।

अध्यागमन विभागले वैदेशिक यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन भन्दै ट्राभल एजेन्सी, कन्सल्टेन्सी, म्यानपावर कम्पनीदेखि एयरलाइन्ससम्मलाई लक्षित गरी सार्वजनिक अनुरोध गरेको हो ।

विभागले आज एक सार्वजनिक अनुरोध जारी गर्दै विमानस्थलमा हुने ‘सेटिङ’, नक्कली कागजातको प्रयोग र भिजिट भिसाको दुरूपयोग रोक्न कडा कदम चाल्ने संकेत दिएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश प्रस्थान गर्ने र नेपाल प्रवेश गर्ने यात्रुहरुलाई प्रदान गरिने सेवालाई थप सरल र सहज बनाउन सहयोग गर्न विभागले यात्रुसहित ७ संस्थाहरुलाई अनुरोध गरेको छ ।

नागरिक तथा यात्रुहरूका लागि, वायु सेवा कम्पनीका लागि, स्थानीय तह र जिल्ला प्रशासनका लागि, सञ्चारमाध्यमहरूका लागि, कूटनीतिक नियोगहरूका लागि, ट्राभल्स र मेनपावरका लागि र सटही कारोबार गर्ने संस्थाहरूका लागि विभागले छुट्टाछुट्टै अनुरोध गरेको हो ।

 विभागले अब अनुमान, शङ्का र यात्रुको भौतिक हैसियतको आधारमा कुनै नेपाली नागरिकलाई विभेदपूर्ण व्यवहार नगर्ने समेत स्पष्ट गरेको छ ।  वैध राहदानी, भिसा, टिकट, होटल बुकिङ्ग वा आफन्तसँग बस्ने प्रमाण लगायतका आवश्यक कागजात बोकेर आउने यात्रुलाई अनावश्यक रोकावट नहुने विभागको भनाइ छ ।

सूचनामा भनिएको छ,‘सबै यात्रुहरुलाई विमानको प्रस्थान समयभन्दा कम्तीमा १ घण्टा अगावै अध्यागमनको स्टेरेलाइज्ड एरियामा अनिवार्य रूपमा पठाउन सबै वायुसेवा कम्पनीहरूलाई अनुरोध गरिन्छ। यसका लागि चेक-इन काउन्टर समयमै बन्द गर्ने व्यवस्था मिलाई अध्यागमन क्षेत्र र प्रक्रियामा अनावश्यक दबाब तथा असहज अवस्था नहुने गरी व्यवस्थापन गर्नुहुन अनुरोध गरिन्छ ।’

विभागको ७ अनुरोध यसप्रकार छन्–

राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले निकटको छिमेकी भारतले गरेको प्रगतिबाट नेपालले लाभ लिएको र अझ बढी लाभान्वित हुन चाहेको बताए।

“एउटा उदाउँदो अन्तरराष्ट्रिय शक्तिका रुपमा भारतले सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा गरको प्रगतिबाट हामी प्रसन्न छौँ, एक मित्र एवं निकट छिमेकीका नाताले भारतका प्रगतिबाट नेपालले लाभ लिएको छ र अझ बढी लाभान्वित हुन चाहन्छ”, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

उनले नेपाल र भारतबीच शताब्दीऔँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रहेको चर्चा गर्दै दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताए ।

“नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च प्राथमिकतामा राखेको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्व दिने भारत सरकारको ‘छिमेक पहिले नीति’ को नेपाल सराहना गर्दछ”, राष्ट्रपतिले भने ।

विदेशसचिव मिश्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीतिअनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताउनुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

विदेशसचिवले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबीचको प्रगति एवं विकासका लागि ‘कनेक्टिभिटी’ विस्तारका साथै पारस्परिक हित र चासोका विषयमा सम्बद्ध अधिकारीहरुसँग छलफल गर्ने अवसर मिलेको बताए।

सन् २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने रुसको योजना

रुसले आफ्नो भेनेरा–डी अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि शुक्र ग्रहलाई पुनः भ्रमण गर्ने योजना बनाएको छ । यसका लागि तयारी कार्यहरू सुरु भइसकेको स्थानीय मिडियाले आइतबार जनाएको छ ।

यो परियोजना अब देशको नयाँ राष्ट्रिय अन्तरिक्ष कार्यक्रमको हिस्सा हो । स्पेस रिसर्च इन्स्टिच्युट (आइकेआई) का ग्रह भौतिक विज्ञान विभाग प्रमुख ओलेग कोराबलेभका अनुसार प्रारम्भिक डिजाइन कार्य सन् २०२६ जनवरीबाट सुरु हुनेछ ।

मस्यौदा डिजाइन चरण पूरा गर्न करिब दुई वर्ष लाग्ने अनुमान गरिएको छ । यस अवधिमा विभिन्न समन्वय बैठकहरू हुने र लाभोच्किन एसोसिएसनसहित रूसी अन्तरिक्ष उद्योगका अन्य संस्थासँग सहकार्य गरेर प्रगतिलाई अघि बढाइने उनले बताए।

कोराबलेभका अनुसार डिजाइन चरण सकिएपछि प्रक्षेपणको मिति निर्धारण गरिनेछ । उनले भने, “तर यो निश्चय नै हालको योजना अवधिभित्र हुनेछ, सन् २०३६ भन्दा पछि होइन ।”

भेनेरा–डी मिसनमा ल्यान्डर, बेलुन प्रोब र कक्षीय अन्तरिक्ष यान रहनेछ । यस वर्षको सुरुआतमा आइकेआईका वैज्ञानिक निर्देशक लेभ जेलेनीले पनि यो मिसन सन् २०३४ वा सन् २०३५ अघि प्रक्षेपण हुने सम्भावना कम रहेको बताएका थिए ।

गुन्डा नाइके राजु गोर्खाली काठमाडौंबाट पक्राउ

काठमाडौं । गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।  महानगरीय अपराध महाशाखाको टोलीले उनलाई वानेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको गरिएको हो । विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका उनी सिन्धुपाल्चोकका हुन् ।

बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने

भक्तपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका १३ जिल्लाका पत्रकारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गर्ने भएको छ । आज भक्तपुरमा सञ्चारकर्मीलाई यसबारे जानकारी दिँदै प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका सबै पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमामा समेट्ने गरी बिमा कार्यक्रम लागू गरिने उल्लेख गरेका छन् ।

मन्त्री थापाले भने, “पत्रकारहरूको स्वास्थ्यप्रति हामी गम्भीर भएर काम गरिरहेका छौँ, त्यसैले प्रदेशका १३ वटै जिल्लाका पत्रकारलाई स्वास्थ्य बिमाभित्र समेटेर बिमाबापतको प्रिमियम शुल्क प्रदेश सरकारले व्यहोर्ने गरी कार्यक्रम लागू गर्ने भएका हौँ, त्यसका लागि बजेटको व्यवस्था गरिसकेका छौँ ।”

उनले पत्रकार स्वास्थ्य बिमाका लागि मन्त्रालयले रु २० लाखको बजेट चालु आर्थिक वर्षका लागि व्यवस्था गरेको जानकारी दिँदै यसका लागि कार्यविधि तयार भइरहेको बताए । बिमाको प्राविधिक पक्षलाई सरल, पारदर्शी र डिजिटलमैत्री बनाउँदै पत्रकारलाई पाँच जनाको परिवार मानेर समूहमा आबद्ध गराएर बिमाको प्रिमियम सरकारले तिर्नेगरी व्यवस्था गर्ने तयारी भएको उनले बताए ।

मन्त्री थापाले पत्रकारको स्वास्थ्य सुरक्षामा बिमाले दीर्घकालीन रूपमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् । उनले स्वास्थ्य क्षेत्र सुधार गर्ने योजनाका रूपमा ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि’ अभियान, ‘एक जिल्ला, एक स्वस्थ सहर’ र ‘एक स्थानीय तह, एक नमूना स्वास्थ्य संस्था’ कार्यक्रम पनि यसैवर्षदेखि सञ्चालन हुने जानकारी दिए ।

मन्त्री थापाले १३ जिल्लाका १३ प्रादेशिक अस्पताल मात्रै नभइ अब दूरदराजका विकट क्षेत्रका नागरिकलाईसमेत सहज स्वास्थ्य सेवाको पहुँच पुर्‍याएर आमनागरिकले सरकार गाउँगाउँ पुगेको महसुस गर्नेगरी कार्ययोजना अगाडि बढाइएको बताए । स्वास्थ्य सामग्री, औषधि, उपकरण लिएर आफैँ गाउँगाउँ पस्ने गरेको भन्दै उनले जनताले परिवर्तनलाई अनुभूति गर्नेगरी सबैले काम गर्नुपर्नेमा जोड दिए ।

नेपाल विद्युत प्राधिकरणले मनायो आफ्नो ४० औं वार्षिक समारोह (तस्बिरहरु)

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्थापनाको ४० औं वसन्त पार गरेको छ ।

सो अवसरमा आज काठमाडौंमा आयोजना गरिएको समारोहमा ऊर्जा, जल स्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रराज शाक्य लगायतका उपस्थिति समेत रहेको थियो ।

तस्बिरमा हेनूहोस् ४० औँ वार्षिक समारोह

सहिदको बलिदान अमूल्य सम्पत्तिः मुख्यमन्त्री सिंह

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तेस्रो मधेस आन्दोलनका प्रथम सहिद राजीव राउतप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आइतबार राउतको सहादत दिवसका अवसरमा मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सहिद राउतसहित सम्पूर्ण सहिदप्रति उच्च सम्मान प्रकट गरे  ।

मुख्यमन्त्री सिंहले सहिदहरूले देखाएको बाटो र आदर्शलाई अवलम्बन गर्दै मधेसका अधिकार, समानता र न्यायका पक्षमा निरन्तर अघि बढ्ने दृढ सङ्कल्प व्यक्त गरे ।

उनले मधेस आन्दोलनका क्रममा बलिदान दिने सहिदहरूको बलिदानलाई इतिहासकै अमूल्य सम्पत्ति भएको उल्लेख गरेका हुन् ।

मधेसवादी दलहरूको आन्दोलनका विसं २०७२ भदौ १ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा प्रहरीको गोली लोर राजीव राउतको घटनास्थलमै मृत्यु भएको थियो ।

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान ९ः३० बजे खसेको पहिरो पन्छाएपछि अहिले दिउँसो १ बजेदेखि सडक पुनःसञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान ४ः२० बजे गएको पहिरो ८ बजे पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो ।

इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सवारी आवागमन सुरु भएको उनले जानकारी दिए।

आवागमन सुरु भएपछि रोकिएका सवारीसाधनहरू गन्तव्यमा जान थालेका छन् । यस स्थानमा अन्य समयमा पनि ढुङ्गा खँस्दै आएकाले सतर्कताका साथ यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी पूरा, उद्घाटन सोमबार

काठमाडौँ । ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीय साझा धारणा, संवाद र समन्वयमा हुन लागेको ‘हिन्दुकुश हिमालय संसदीय बैठक’ सोमबारदेखि सुरु हुँदैछ । सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा यँही भदौ २ र ३ गते काठमाडौँमा हुने बैठकको तयारी पूरा भएको समितिले जनाएँको छ ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०को प्राविधिक सहयोगमा आयोजना हुन लागेको बैठकमा हिन्दूकुश हिमालय क्षेत्रका देशहरू नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिको सहभागिता हुनेछ । अफगानिस्तानको सरकारलाई नेपालले हालसम्म मान्यता नदिएका कारण बैठकमा आमन्त्रणा गरिएको छैन् ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि तथा सभामुख देवराज घिमिरे विशिष्ट आतिथि रहनुहुनेछ । यही भदौ २ गते बिहान ९ः३० बजेदेखि उद्घाटन समारोह सुरु हुनेछ । समारोहमा राष्ट्रपति पौडेल, सभामुख घिमिरे, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सो तथा विभिन्न देशबाट आउनुभएका विशिष्ट व्यक्तिहरु बाट सम्बोधन हुनेछ । उद्घाटन समारोहपछि विभिन्न प्राविधिक सत्र सञ्चालन हुनेछन् ।

बैठकमा हिन्दुकुश हिमालय क्षेत्रमा रहेका देशका जनप्रतिनिधि, संसदीय समितिका प्रमुख तथा प्रतिनिधि गरी करिब ३० जना तथा जलवायु परिवर्तन, वायुप्रदूषण र वातावरणका विषयसँग सम्बन्धित विज्ञको सहभागिता रहनेछ । साथै साझेदार संस्थाहरू, नेपालको सङ्घीय संसद् र सरकारी अधिकारीहरूका सम्बन्धित विज्ञहरूको पनि यस कार्यक्रममा सहभागीता हुनेछ । वन तथा वातावरण तथा परराष्ट्र मन्त्रालयसँगको आवश्यक समन्वयमा बैठक आयोजना हुन लागेको हो ।

आयोजक समितिका संयोजक वीरबहादुर बलायरले बैठकको तयारी पूरा भएको जानकारी गराउँदै कार्यक्रममा हिन्दुकुश क्षेत्रमा जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधताका विषयमा परेको असर, जोखिम र त्यसक्षेत्रका अवसरबारे विस्तृत र गहन छलफल हुने बताए । उनले भने, “जलवायु परिवर्तनको ठूलो असर हिन्दुकुश क्षेत्रमा परेको छ, जैविक विविधता पनि लोप भएर गइरहेको छ । यसलाई न्यूनीकरण गर्न बेलैमा साझा पाइला चालेर केही गर्न सकिन्छ कि भन्ने उद्देश्यले यो कार्यक्रम गर्न लागेका हौँ ।”

विश्व समुदायले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषणजस्ता समस्या भोग्नु परिरहेको परिप्रेक्षमा हिन्दुकुश राष्ट्रका सांसदहरूलाई एउटै मञ्चमा बसेर समस्या समाधानका लागि साझा धारणा बनाउन प्रयत्न गरिएको उनको भनाइ छ । हिन्दुकुश हिमालय एक जैविक विविधता र सांस्कृतिक रूपमा धनी पर्वतीय क्षेत्र हो, जुन अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तान गरी आठ देशमा फैलिएको छ ।

हिन्दुकुश क्षेत्रका मुुलुकका संसद्बीय नीति तथा कानुन निर्माण र दिगो विकासमा ज्ञान, सीप तथा नवीन धारणालाई आदानप्रदान गर्ने उद्देश्यले बैठक आयोजना गर्न लागिएको समितिका सभापति कुशुमदेवी थापाले बताईन । राजनीतिक र संसदीय नेतृत्वलाई एकै ठाउँमा राखेर छलफल गर्दा प्राप्त हुने निष्कर्षलाई भावी दिनमा सम्बन्धित देशका जलवायु नीति तर्जुमा तथा जलवायु अनुकूलन, कार्बन उत्सर्जन न्यूनीकरण, क्षेत्रीय रणनीति तयार पारी कार्यक्रम तर्जुमा गर्न महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ ।

हिन्दुकुश हिमालय क्षेत्रले जलवायु परिवर्तन, जैविक विविधताको क्षति र प्रदूषणको प्रभावसँगै तीव्र सामाजिक–आर्थिक परिवर्तनबाट विभिन्न सङ्कटको सामना गरिरहेको छ । यसबाट पारिस्थितिक प्रणाली, प्राकृतिक स्रोत, जीविकोपार्जन र मानव जीवनमा गम्भीर प्रभाव पारिरहेको छ । ज्वलन्त पर्वतीय मुद्दालाई राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी मञ्चमा साझा दृष्टिकोण, सक्रिय सहभागिता र समुचित रूपमा उठाउने बैठकको सङ्कल्प छ ।

बैठकमा परराष्ट्र मन्त्रालयबाट समन्वय गरिरहेका सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले जलवायु परिवर्तन, जैविक विविधताको क्षति र वायु प्रदूषणसँग सम्बन्धित प्रमुख समस्याका साथै साझा चुनौती र अवसरबारे संसदीय अभ्यास तथा बुझाइलाई नवीन ढङ्गबाट अभिवृद्धि गर्न बैठक सहयोगी हुने बताए ।

विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको मुलुकमा पर्दछ । वैज्ञानिक अध्ययनअनुसार हिमाली क्षेत्रको तापक्रम वर्तमान तथा भविष्यमा विश्वको औसत तापक्रमको दाँजोमा ० दशमलव ३ डिग्री सेल्सियस देखि ० दशमलव ७ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाइ हिम भण्डार पग्लने अनुमान अध्ययनले गरेका छन् । परिवर्तित जलवायुका कारण नेपालमा पछिल्लो समय मनसुनी वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक हेरफेर देखिन थालेको छ र यस प्रकारको हेरफेरका कारण उत्पन्न हुने जलवायुजन्य प्रकोप र विपद्ले गर्दा नेपाली जनताले वहुपक्षीय चुनौतीको सामना गर्नुपरिरहेको छ ।

वन मन्त्रालयका जलवायु परिर्वतन व्यवस्थापन महाशाखाका प्रमुख डा महेश्वर ढकालले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको प्रभाव मात्र नभई सम्भावना र अवसरबारे पनि कार्यक्रममा पर्याप्त छलफल हुने जानकारी दिए । “भावी पुस्ताको दिगो भविष्य सुनिश्चित गर्न विभिन्न वातावरणीय र सामाजिक–आर्थिक चुनौती तथा आवश्यकता, सम्भावना र अवसर मिहीन रूपमा पहिचान तथा छलफल गरी सामूहिक रूपमा सम्बोधन गर्ने बैठकको मुख्य ध्येय रहेको छ”, उनले भने।

जलवायु विज्ञ मञ्जिल ढकालले हिन्दुकुश क्षेत्रका जनप्रतिनिधि जलवायु परिवर्तनका विषयमा एकठाउँमा जुटेर छलफल गर्नु र नेटवर्क गर्ने कार्यमा बहस गर्नु आफैँमा महत्वपूर्ण विषय भएको बताए। “हिन्दुकुश क्षेत्रले तल्लो तटीय क्षेत्रका लगभग दुई अर्ब मानिसलाई पानी, खाना र ऊर्जासहित महत्वपूर्ण पारिस्थितिकीय सेवाहरू प्रदान गर्दै आएको छ । यो क्षेत्रले जलवायु परिवर्तन, विपद् जोखिम, जैविक विविधताको क्षति र प्रदूषणको गम्भीर प्रभावको सामना गरिरहेको छ”, उनले भने, “साथै तीव्र सामाजिक–आर्थिक परिवर्तन पारिस्थितिक प्रणाली, प्राकृतिक स्रोतहरू, जीविकोपार्जन र मानव जीवनमा गम्भीर प्रभाव पार्दै गएको छ । यस परिस्थितिमा हिन्दुकुश क्षेत्रका नीतिनिर्माताहरु भेला भई यस विषयमा बहस र छलफल गर्नु सकारात्मक विषय हो ।”

हिन्दुकुश क्षेत्रमा वातावरणीय र सामाजिक–आर्थिक चुनौतीबारे सांसदसँग छलफल गर्न र सामूहिक रूपमा सम्बोधन गर्न क्षेत्रीय साझा मञ्चको कमी रहेको अवस्थामा राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा पर्वतीय मुद्दाका लागि अझ प्रभावकारी रूपमा वकालत गर्न कार्यक्रम सहयोगी हुने अपेक्षा गरिएको छ ।

गाजामा इजरायली आक्रमण, ४० जनाको मृत्यु

गाजा पट्टी । गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार भएको इजरायली आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ । यो घटनालाई इजरायली सेनाले गाजा सहर कब्जा गर्ने योजनाअघि गरिएको ठूलो आक्रमणको सङ्केतका रूपमा हेरिएको छ ।

बाइस महिनादेखि चलिरहेको युद्धले गम्भीर मानवीय सङ्कट निम्त्याइरहेका बेला इजरायलले गाजा सहर कब्जा गर्ने निर्णय एक हप्ताअघि मात्र गरेको थियो । त्यसअन्तर्गत सेनाले आइतबारदेखि गाजामा थप पाल र आश्रय सामग्री पठाउने बताइएको छ ।

हमासले भने यस कदमलाई ‘गाजा सहर कब्जा गर्ने क्रुर योजनाको हिस्सा’ भन्दै कडा विरोध गरेको छ ।

गाजाका नागरिक सुरक्षा प्रवक्ता महमुद बासलका अनुसार गाजा सहरको जितुन क्षेत्र अत्यन्तै खराब अवस्थामा पुगेको छ । त्यहाँ करिब ५० हजार मानिस रहेका र तिनीहरू मध्ये धेरैजना खाना, पानी र अन्य आधारभूत आवश्यकताबाट वञ्चित भएको उनले बताए ।

हालैका दिनमा गाजा सहरका आवासीय क्षेत्रहरूमा निरन्तर हवाई आक्रमण भएको स्थानीयवासीहरूले बताएका छन् । सेनाले भने आफ्नो कारबाही अन्तर्राष्ट्रिय कानूनअनुसार भएको दाबी गर्दै नागरिक क्षति कम गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

एक स्थानीय बासिन्दा घसन कास्कोले भने, “हामीलाई निद्राको स्वाद थाहा छैन । विस्फोट र बमबारी कहिल्यै रोकिन्न ।” संयुक्त राष्ट्रसङ्घ समर्थित विज्ञहरूले इजरायलले मानवीय सहायतामा कटौती गरेकाले यस क्षेत्रमा ठूलो अनिकालको खतरा रहेको चेतावनी दिएका छन् ।

शनिबार मात्र गाजामा सहायता वितरण स्थल नजिकै सेनाले गोली चलाउँदा खाना लिन लाइनमा उभिएका १३ जना प्यालेस्टिनीको ज्यान गएको बताइएको छ ।

सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणपछि सुरु भएको यस युद्धमा हालसम्म एक हजार दुई सय १९ इजरायलीको ज्यान गएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणका कारण ६१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

चीनमा आएको आकस्मिक बाढीका कारण ८ जनाको मृत्यु, ४ जना बेपत्ता

चीनको मंगोलिया क्षेत्रमा आएको आकस्मिक बाढीले आठ जनाको ज्यान गएको छ भने चार जना अझै बेपत्ता रहेका छन् । चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार यो घटना शनिबार राति करिब १० बजे भएको हो ।

उराद रियर ब्यानर भन्ने ठाउँमा १३ जनाको एउटा समूह खुला ठाउँमा डेरा जमाइरहेको बेला अचानक बाढी आएको थियो । घटनापछि एक जनालाई जीवितै उद्धार गरिएको छ भने अन्य चार जनाको खोजी कार्य अझै जारी रहेको छ ।

सरकारले उद्धार प्रयासलाई तीव्र बनाउने आदेश दिएको छ र बेपत्ताहरूको अवस्थाबारे पुष्टि गर्न एक विशेष टोली घटनास्थलमा पठाइएको छ ।

चीनमा गर्मी महिनामा यस्ता प्राकृतिक प्रकोपहरू बारम्बार देखिने गर्छन् । केही स्थानहरूमा अत्यधिक वर्षा हुने गर्छ भने अन्य ठाउँमा गर्मीले समस्या उत्पन्न गर्छ ।

यसअघि पनि साउनको सुरुवातमा उत्तरपश्चिम चीनमा आएको बाढी र पहिरोका कारण कम्तीमा १३ जनाको मृत्यु भएको थियो । गत महिना राजधानी बेइजिङमा परेको भारी वर्षाले ४४ जनाको ज्यान लिएको थियो र छिमेकी हेबेइ प्रान्तमा पहिरोमा ८ जनाको मृत्यु भएको थियो ।

पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारणलाइनको विद्युत् विस्तार

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारणलाइनको विद्युत् विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत चिमखोलाबाट पाखापानी र पात्लेखेत गाउँमा केन्द्रीय लाइनको विद्युत् विस्तार भएको हो ।

मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडान सकिएपछि शनिबार गरिएको परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताए ।

उपभोक्ताको घरघरमा मिटर जडान भएपछि विद्युतीकरणको काम सकिने जनाउँदै उनले पात्लेखेत र पाखापानीमा एक सय परिवार यसबाट लाभान्वित हुने उल्लेख गरेका छन्। चिमखोला, नामीला टोलमा यसअघि केन्द्रीय लाइन पुगिसकेको छ ।

यहाँका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजना र सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । ठेकेदार कम्पनी न्यू ढुङ्गाना निर्माण सेवाका सञ्चालक दिनेश ढुङ्गानाले बर्खायामको प्रतिकूल मौसम, सडक तथा यातायात अवरुद्ध भएको अवस्थामा पनि विद्युतीकरणको काम सम्पन्न गरिएको बताए ।

म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०र८१ देखि रु २२ करोड बजेटको आयोजना सञ्चालन गर्दै आएको छ ।

उक्त आयोजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, मालिका–२ रुम, मालिका–३ डाडागाउँ, पात्ले, मालिका–४ ओखरबोटका ६००, धवलागिरि गाउँपालिकाको मलम्पारका १५०, बुलका ४५ र चिउरीबोटका १३० घरमा विद्युतीकरण भइसकेको सूचना अधिकारी झाले जानकारी दिएका छन् ।

धवलागिरि गाउँपालिकाको लुलाङमा विद्युत् लाइन पुगे पनि उपभोक्ताले मिटरबक्स जडान गर्न बाँकी रहेको उनले उल्लेख गरेका छन् । “धवलागिरिको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । यो ठेक्कामार्फत धवलागिरि–१ को गुर्जाबाहेकका बस्तीहरूमा केन्द्रीय विद्युत् विस्तार भइरहेको छ । अन्नपूर्ण गाउँपालिका–८ स्थित पर्यटकीयस्थल मोहरेडाँडामा पनि केन्द्रीय विद्युत् सुविधा पुर्‍याउने योजना छ”, उनले भनेका छन्।

निःसन्तान उपचारमा पारदर्शिता र सुरक्षाका लागि स्वास्थ्य मन्त्रालयद्धारा मापदण्ड जारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःसन्तान उपचार (आइभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै उक्त मापदण्ड स्वीकृत गरेका हुन् ।

यो मापदण्डले नेपालमा निःसन्तान उपचार सेवा र यसका लागि आवश्यक प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिएको शुक्रकिट तथा अण्डा दान(डोनर) प्रक्रिया थप व्यवस्थित हुने भएको छ ।

मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माले यो मापदण्डले निःसन्तान उपचार केन्द्रहरूको कानुनी आधारमा प्रभावकारी नियमन र निःसन्तान उपचार सेवामा एकरूपता ल्याउने बताए । उनका अनुसार न्यूनतम भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशालाको स्तर तोक्ने, सेवा शुल्कलाई पारदर्शी बनाउने तथा सेवाग्राही र दाताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले यो मापदण्ड जारी गरिएको हो ।

उनले भने, “निःसन्तानपन एक संवेदनशील स्वास्थ्य समस्यामात्र नभएर गहिरो सामाजिक र मनोवैज्ञानिक विषय पनि हो । यस मापदण्डले निःसन्तान उपचार सेवालाई थप सुरक्षित, पारदर्शी र अन्तरराष्ट्रियस्तरको बनाउन लागि एक कोशेढुङ्गाका रुपमा काम गर्ने छ ।”

डा शर्माले मापदण्डबमोजिम सेवा प्रदायकलाई पूर्ण जिम्मेवार बनाइने छ । तोकिएको मापदण्ड पालना नगर्ने जोसुकैलाई कडा कानुनी दायरामा ल्याउने बताए ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बूढाथोकीले प्रजनन स्वास्थ्यको क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन यस मापदण्डले महत्वपूर्ण भूमिका खेल्ने बताए । “पछिल्लो समय निःसन्तानपनको समस्या बढ्दो छ । तर यसको उपचार दिने संस्थाहरूको गुणस्तर र प्रक्रियामा थुप्रै प्रश्न उठेका थिए । धेरै दम्पतीहरू ठगिनसक्ने र गुणस्तरीय सेवा नपाउँदा उनीहरुको जीवन समेत जोखिममा पर्नसक्ने खतरा थियो”, प्रवक्ता डा बुढाथोकीले भने, “यो मापदण्डले सेवालाई सुरक्षित र विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।”

मापदण्डमा ‘आइयुआई’ र ‘आइभीएफ’ जस्ता विशिष्ट सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । प्रत्येक अनुमति प्राप्त केन्द्रमा निःसन्तान रोग विशेषज्ञ, तालिम प्राप्त ‘इम्ब्रायोलोजिष्ट’ र ‘एनेस्थेसियोलोजिष्ट’ लगायतका दक्ष जनशक्ति अनिवार्य हुनुपर्नेछ ।

भ्रुणको विकासमा प्रत्यक्ष असर पार्ने प्रयोगशाला र शल्यक्रिया कक्षको वातावरणीय गुणस्तरका लागि प्राविधिक मापदण्ड तोकिएको छ । सेवा शुल्क मन्त्रालयले निर्धारण गरेबमोजिम मात्र लिन पाइनेछ भने प्रत्येक संस्थाले १० प्रतिशत सेवा गरिब तथा विपन्न वर्गलाई निःशुल्क उपलब्ध गराउनुपर्नेछ । सेवाको गुणस्तर, जनशक्ति र उपकरणको अवस्थाबारे मन्त्रालयको समितिले नियमित अनुगमन गर्ने र मापदण्ड पालना नगर्ने संस्थाको अनुमति खारेज गर्नसक्ने व्यवस्था गरिएको छ ।

शुक्रकिट वा अण्डा दान गर्ने दाताका लागि समेत स्पष्ट मापदण्ड तोकिएको छ । दाताको उमेर २० देखि ३५ वर्षको बीचमा हुनुपर्ने, कुनै पनि सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्ने र विवाहितको हकमा दम्पतीको लिखित मञ्जुरीजस्ता विषयलाई अनिवार्य गरिएको छ ।

एक व्यक्तिले दान गर्न पाउने पटकको सङ्ख्या सीमित गरिएको छ र दाताको पहिचान पूर्ण रूपमा गोप्य राख्नुपर्नेछ । साथै, कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी वा दबाबमा राखी दान गराउन पूर्ण रूपमा निषेध गरिएको छ ।

पाल्पामा आज सिन्दुर जात्रा

तानसेन (पाल्पा) ।  नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक भगवतीको रथसहितको सिन्दुर जात्रा आयोजना गरिँदै छ । विगतमा जस्तै यस वर्ष २०६औँ भगवती खट यात्राका रूपमा सिन्दुर जात्रा निकाल्न लागिएको हो ।

विसं १८७१ देखि १८७२ भएको तत्कालीन नेपाल–अङ्ग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अङ्ग्रेज फौजलाई हराउन सफल भएपछि पाल्पामा हरेक वर्ष भाद्र कृष्णनवमीका दिन विजयोत्सव मनाइँदै आइएको छ । कहींँकतै नहारेको ब्रिटिस सेनालाई नेपालले युद्धमा पराजित गरी विजय हासिल गरेको थियो । विश्वभर आफ्नो साम्राज्य विस्तारका क्रममा हिँडेको अङ्ग्रेज फौजलाई नेपाली सेनाले पराजित गरी जितगढीबाट नै नेपाली वीरताको इतिहास रचेको थियो ।

पाल्पाका तत्कालीन कर्णेल थापाको नेतृत्वमा रहेको नेपाली फौजले वीरता र निडरताका साथ लडाइँ लडेर विजयको झण्डा फहराएको हो । नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायत क्षेत्रमा विजय हासिल गरेको सम्झनामा १८७७ सालदेखी निरन्तर रूपमा प्रत्येक वर्ष पाल्पामा विजयउत्सव मनाउने परम्परा चल्दै आएको छ ।

कर्णेल उजिरसिंह थापाले जितगढीमा विजय प्राप्त गरे । पाल्पाको तानसेनमा भगवतीको मन्दिर स्थापना गरी सिन्दुर यात्रा गरी भगवतीको जात्रा निकाल्नेछु भनी भाकल गरेको र लडाइँ जितेपछि १८७६ मा भगवतीको मन्दिर निर्माण गरी भगवती जात्रा निकाल्ने परम्पराको थालनी गरेका थिए ।

आजको दिन बालबालिका, बूढाबूढी, युवा, युवती सबैका लागि भगवती जात्रा उत्सवमय बन्ने छ । गाउँ–गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्ति समय मिलाएर आउँदैछन् । तानसेन बजारमा फरक माहोल देखिएको छभने मानिसको चहलपहल बढ्दो छ । नेपालल अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतको क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि मनाउन थालिएको विजयोत्सव अहिले पनि निरन्तरता पाएको छ । प्रत्येक वर्ष पाल्पामा श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले विजयोत्सव स्वरुप ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकाल्ने गरेको हो ।

यस वर्षको  भगवती जात्राको तयारी पूरा भएको समितिका  अध्यक्ष अशोककुमार महर्जनले बताए। उनले भने, “हामीले स्थानीय सरकार, जिल्लाका सरोकारवाला निकाय, यहाँ सञ्चालन हुने अन्य जात्राका व्यवस्थापकहरूसँग बसेर जात्रालाई कसरी व्यवस्थित र मर्यादित बनाउन सकिन्छ भनेर सल्लाह लिने र सोहीअनुसार काम गर्ने गरेका छौँ ।” ऐतिहासिक भगवतीको रथयात्राले भगवतीको महिमाको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास लिएको अध्यक्ष महर्जनले बताए ।

यस वर्षको भगवती रथयात्रामा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानसेनापति बलाधिकृत रथी श्री अशोकराज सिग्देल, प्रदेशका मन्त्री, सङ्घीय सांसद, प्रदेश सांसदलगायतका उच्च पदस्थ व्यक्तिको सहभागिता रहने भगवती मन्दिर व्यवस्थापन समितिका सदस्यसचिव प्रकाशनाथ गङ्गोलले बताए।

उनका अनुसार पूजा तान्त्रिक विधिद्वारा मूलपुरोहितद्वारा ठिक १२ः०० बजेको बलिसहितको पूजा, बढाइँ आतिसबाजी, भगवतीको प्रतिमूर्ति रथमा राखिने छ । सचिव गङ्गोलले भने, “ १२ः३० बजे मन्दिर परिसरबाट खटयात्रा तीनटक मन्दिर घुमाउने र कर्णेल पूजा गरिसकेपछि नगरपरिक्रमा गराइने छ ।”  रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, सङ्घसंस्थाको सहभागिता रहने छ । हरेक वर्ष कुमाल समुदायबाट विजयोत्सवको रथ बजार परिक्रमा गराउने परम्परा रहेको छ । भगवतीको रथको दुवैतिर तेर्साइएका दुई बलिया नोलहरूलाई काँधमा बोकी जयजयकारको गुञ्जन ध्वनि र बन्दुकको बढाइँका साथ मूर्तिलाई रथमा राखेर नगर परिक्रम गर्ने गरिन्छ । ऐतिहासिक महत्व बोकेको जात्राका क्रममा शान्ति सुव्यवस्था कायम गर्न जिल्लाको सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । जात्राका दिन प्रदेश सरकारले  आज यहाँ सार्वजनिक विदा समेत दिएको छ ।

पहिरोले कर्णाली राजमार्गको कालीकोट सडकखण्ड अवरुद्ध

मान्म । पहिरोका कारण कर्णाली राजमार्गको कालीकोट सडकखण्डका ठाउँठाउँमा यातायात अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको वर्षाका कारण पहिरो खँँस्दा यातायात अवरुद्ध भएको हो ।

कर्णाली राजमार्गको कालीकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला, जुम्ला र कालीकोटको सिमाना नाग्मा नजिकै सिञ्जा हुँदै मुगु जाने सडकमा पहिरो खँँस्दा यातायात अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए । उनका अनुसार दैलेखमा शनिबार साँझदेखि नै यातायात अवरुद्ध छ भने कालीकोटको गगने र बिहानीको पहिरो हटाँउने काम भइरहेको छ ।

रातिदेखिको अविरल वर्षाले कर्णाली करिडोर अन्तर्गत पर्ने रास्कोट र पचाल झरनाको बीचमा पर्ने फुगाड खोला बढेकाले मोटरसाइकल र साना गाडी तर्न सकेका छैनन् । पहिरोले सडक अवरुद्ध भएपछि कालीकोट हुँदै सुर्खेत जाने सवारी विभिन्न ठाउँमा रोकिएका छन् ।

दैनिक १० हजारभन्दा बढीको स्कुस बिक्री गर्दै किसान

गाईघाट । सदरमुकाम गाईघाटमा हरियो सागसब्जीको मूल्य महँगिँदै गइरहेका बेला पहाडी क्षेत्र रौता, साउने, खाँबु, रौतामलबासे, सल्लेलगायत क्षेत्रमा उत्पादित स्कुस दैनिक १० हजारको हाराहारीमा कारोबार हुन थालेको छ ।

खाँबुका स्कुस उत्पादक किसान टङ्कबहादुर मगरका अनुसार साउनको अन्तिम सातादेखि यहाँ उत्पादित स्कुस गाईघाट बजार क्षेत्रमा बिक्री गर्न सुरु भएको हो ।

खाँबुका अर्का किसान देवराज खत्रीले पनि अहिले गाईघाट, देउरी, बगाहासहित सिरहा क्षेत्रबाट स्कुस खरिद गर्न व्यापारी आउने गरेकाले दैनिक १० हजारभन्दा बढीको बिक्री सुरु गरेको बताए । साउन अन्तिम सातासम्ममा दैनिक १० देखि २० हजारसम्ममा स्कुस गाउँघरबाट बिक्री हुन थालेको उनले जानकारी दिए ।

गाईघाट सब्जी बजारका व्यापारी कुमारी कटुवालका अनुसार अहिले पहाडी क्षेत्रमा स्कुस प्रतिकिलो ३० देखि ४० पर्ने गरेको जनाउँदै व्यापारीले ६० प्रतिकिलोका दरले बिक्री गर्दै आएका बताए ।

अहिले गाईघाटमा जिल्ला बाहिरबाट आयातित सब्जी दोब्बर महँगोमा व्यापारीले बिक्री गर्ने गरेकामा यहाँकै ताजा र हरियो स्कुस उपभोग गर्न पाएपछि उपभोक्ता खुसी भएका छन् ।

गाईघाट बोक्सेकी उपभोक्ता सम्झना बस्नेतले भने, “व्यापारीले जिल्ला बाहिरबाट सडेगलेका तथा विषादीयुक्त सब्जी सस्तोमा खरिद गरेर महँगोमा बिक्री गरिरहेका बेला जिल्लाकै पहाडी क्षेत्रको अग्र्यानिक स्कुस किनेर खान पाइएका छौँ । यसले स्वास्थ्यमा प्रतिकूल असर गर्दैन भने खर्च पनि कम भएको छ ।”

उपभोक्ताले पनि जिल्लाका साउने, खाँबु र रौता पहाडी क्षेत्रमा उत्पादन भएको स्कुस बढी मन पराउने भएकाले बजारमा यसको माग बढी हुने किसान बताउँछन् ।

प्रत्येक वर्ष यस क्षेत्रमा उत्पादित स्कुस साउन तेस्रो सातादेखि बिक्री सुरु भएर भदौमा सबैभन्दा बढी खपत हुने व्यापारी प्रेम मगरले जानकारी दिए । गत वर्ष भदौभरि आफूले लाखौँको स्कुस बिक्री गरेको बताउँदै उहाँले यसपटक पनि सोही तुलनामा बिक्री हुने विश्वास व्यक्त गरे ।

त्रियुगा नगरपालिकाको पहाडी क्षेत्रको साउने, खाँबु, डहर र रौता क्षेत्रको रौता, मलबासे, आपटार क्षेत्रमा उत्पादन गरिएका स्कुस बर्सेनि साउन, भदौ र असोजमा सदरमुकाम गाईघाट बजारसहित जिल्ला बाहिर सप्तरीको राजबिराज, सिरहाको लाहानसम्म बिक्री हुने गरेको स्कुस उत्पादक किसानहरू बताउँछन् । एक सिजनमा कसैकसैले ५० हजारदेखि तीन लाखसम्मको स्कुस बिक्री गर्ने गरेको किसानहरू बताउँछन् ।

 

सुदूरपश्चिममा ‘वल्के’ पर्व मनाइँदै

डोटी । डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक आज मंगलबार बिहानैदेखि वल्के पर्व मनाउन थालिएको छ । यो प्रदेशमा वैशाख महिनामा मनाइने बिशु पर्व मरौला भनेर खाने तथा भदौ महिनामा मनाइने वल्के पर्व बोचे भनेर खाने पर्वका रूपमा मनाइने चलन रहेको छ ।

साउन मसान्त र भाद्र सङ्क्रान्ति गरी दुई दिन मनाइने यो पर्वको पहिलो दिन हिजो प्रत्येक घरमा मिठोमसिनो खानाका स्थानीय परिकार बनाइएर मनाइएको थियो भने आज दोस्रो दिन पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा आफूभन्दा ठूलाबडालाई तथा छिमेकीलाई बाँडेर प्रदेशका नौवटै जिल्लामा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदै गरेको दिपायल पिपल्लाका स्थानीयवासी हर्कबहादुर बोहराले बताए ।

उनले भने, “हाम्रो प्रदेशमा वल्के पर्वको निकै महत्व छ, आजको दिन आफूभन्दा ठूलालाई सगुन दिए धर्म कमाइन्छ भन्ने मान्यताले सबैले आफ्ना घरमा फलेका साग, तरकारी तथा पाकेका मिठोमसिनो खानेकुरा दिने चलन छ ।” रोजगारी तथा काम विशेषले घर तथा जिल्ला बाहिर गएका यहाँका नागरिक पनि वल्के चाड मनाउन अहिले आ-आफ्ना घरमा फर्किएका कारण यहाँका बजार तथा गाउँमा निकै चहलपहल बढेको छ ।

वल्के पर्व यहाँका बजार क्षेत्रभन्दा पनि गाउँघरमा बढी मनाउने चलन रहेको केआइसिंह गाउँपालिका-५ की स्थानीयवासी सानु जोशीले बताइन् । उनले भनिन्, “वल्के पर्व गाउँमा बढी मनाइन्छ, यस वर्ष गाउँघरमा कोरोना जोखिमको त्रास कम भएका कारण पनि गाउँमा वल्के पर्वको रौनक तथा चहलपहल बढी छ ।”

आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध, दही दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा यस क्षेत्रमा शताब्दीयौँदेखि रहिआएको दिपायल सिलगढी नगरपालिका-२ का स्थानीयवासी तथा कांग्रेस नेता घनश्याम पाठकले बताए ।

उनका अनुसार वल्के चाडका दिन विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी यहाँका स्थानीय परिकार लाउन (पुरी), बावर (सेल), चामलको पिठोबाट बनेका माणा, निसौसे, गतानी, डुब्कालगायतका स्थानीय खानाका मिठो परिकार पकाएर खुवाउने र खाने प्रचलन छ । यसरी छोरी चोलीलाई खुवाएमा पुण्य प्राप्त हुन्छ भन्ने मान्यताले यहाँ आजको दिन सबैले आ-आफ्ना विवाहिता छोरी माइतीमा बोलाउने चलन रहेको छ ।

वल्के चाडमा एक महिना पहिले भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्ग्याइने चलन छ । यसरी रङ्ग्याए शरीरमा रोगव्याधी नलाग्ने भन्ने मान्यता रहेको शिखर नगरपालिका मुढभाराका स्थानीयवासी तथा पण्डित गोविन्दराज जोशीले बताए ।

उनका अनुसार वर्षातको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ । रोगको सङ्क्रमणबाट बच्न हातखुट्टा रङ्ग्याइने हुँदा यो चाडलाई शरीरबाट ‘लुतो फाल्ने’ चाडका रूपमा समेत लिइने चलन छ ।

यतिमात्र नभई युवा पुस्ताले पुराना पर्व र संस्कृतिबारे चासो नदिँदा सुदूरपश्चिममा मौलिक संस्कृतिका वल्केजस्ता थुप्रै चाडपर्वको मौलिकता नै हराउन थालेकामा डोटेली समुदायमा चिन्ता व्यक्त गर्न थालिएको छ ।

पश्चिमा संस्कृतिको बढ्दो प्रभावको फलस्वरुप नेपाली समाजमा वर्षौँदेखि मनाइँदै आएका कतिपय पुराना कला, संस्कृति तथा चाडपर्व विस्तारै हराउन थालेको भन्दै डोटेली संस्कृतिप्रेमी आफ्नो ऐतिहासिक सभ्यता र संस्कृतिको पहिचान बोकेका यस्ता चाडपर्वको संरक्षणका लागि सरोकारवालाले जाग्नुपर्ने समय आएको डोटेली कलाकार केशवराज फुलाराले बताए ।

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ ।

सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो ।

ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरुमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।

युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।

यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक तेश्रो पटक बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैंक अवार्ड प्राप्त गरेको थियो ।

यस अघि ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेष्ट बैंकको रुपमा सम्मानित भएको थियो ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आजै भेट्ने कार्यतालिका छ ।

भदौ २ गते सचिव मिस्रीले पशुपतिको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ।

नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको भन्दै चाडैं सञ्चालनमा आउने बताएका हुन् ।

‘ नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ’, प्रधानमन्त्री ओलीले भनेका छन् । उनका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ ।

सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सरकारले केही दिन अघि सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो । जसअनुसार सङ्घीय राजधानी प्रवेश गर्ने कार र भ्यानले रु ६५ र बाहिरिँदा रु ६० तिर्नुपर्नेछ । साथै मिनिबस र मिनिट्रकलाई राजधानी आउँदा रु ११५ र बाहिरिँदा रु ८०, बस र ट्रकले आउँदा रु २६० र फर्कँदा रु २०० तिर्नुपर्नेछ । त्यसैगरी भारी उपकरणका सवारीसाधनको हकमा भने काठमाडौँ आउँदा रु ६०० र फर्कँदा रु २०० दस्तुर निर्धारण गरिएको छ ।

सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रामा समयको बचत हुनुका साथै ढुवानी मूल्य पनि घट्ने अपेक्षा गरिएको छ । कूल २ दशमलव ६८८किलोमिटर लम्बाईको उक्त सुरुङमार्गमा तीन दशंमलव पाँच मिटर चौडाइका दुई वटा लेन छन् । सुरुङमार्गको दुवैतर्फ नाली पनि बनाइएको छ ।

 

ज्ञानेन्द्र शाहीले मागे परराष्ट्र मन्त्री आरजु राणाको राजीनामा

​काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेका छन्।
इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि प्रभावकारी पहल गर्न नसकेको र उनको परिवारको बिचल्ली भएको भन्दै शाहीले परराष्ट्र मन्त्रालयको भूमिकामाथि प्रश्न उठाएका हुन्।

​शाहीले आफ्नो सामाजिक सञ्जालमार्फत परराष्ट्र मन्त्री र मन्त्रालयका कर्मचारीको कडा आलोचना गर्दै उनीसँग कूटनीतिक ज्ञानको अभाव रहेको र नागरिकको जीवन रक्षा तथा दुःखमा परेका नागरिकलाई सहयोग गर्न नसकेको आरोप लगाएका छन्।

‘नागरिकको जीवन रक्षा गर्न नसक्ने, दुःखमा परेका नागरिकको घाउमा मल्हम लगाउन नसक्ने परराष्ट्र मन्त्री, आज देउवा राणा र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई पदमा बसेको कुनै औचित्य छैन’, शाहीले आफ्नो पोस्टमा उल्लेख गरेका छन्।

​शाहीले विशेषगरी विपिन जोशीका आमा र बहिनीको बिचल्ली भएको अवस्थाप्रति सरकारको उदासीनता र निष्क्रियताप्रति आक्रोश व्यक्त गरेका छन्। उनले परराष्ट्र मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने र कामै नगर्ने तथा कूटनीतिक ज्ञान नभएका परराष्ट्र मन्त्रालयका कर्मचारीहरूलाई पदमा बसिरहने कुनै औचित्य नरहेको जिकिर गरेका छन्।

​यो मागले सरकारमाथि विपिन जोशीको उद्धारका लागि दबाब बढाएको छ भने परराष्ट्र मन्त्रालयको कार्यसम्पादनमाथि थप प्रश्नहरू उब्जाएको छ। उनले लेखेका छन् ।

‘​नेपाली नागरिक विदेशमा समस्यामा पर्दा उनीहरूको सुरक्षा र न्याय सुनिश्चित गर्नु राज्यको, विशेषगरी परराष्ट्र मन्त्रालयको प्राथमिक दायित्व हो। यदि मन्त्रालयले यस्ता कूटनीतिक कार्य प्रभावकारी रूपमा सम्पादन गर्न सक्दैन भने परराष्ट्र मन्त्री तथा कर्मचारीहरूले आफ्नो पदमा बसिरहनुको कुनै औचित्य देखिँदैन’, उनले लेखेका छन्, ‘​परराष्ट्र मन्त्रालयलाई यस विषयको गम्भीरता बुझी तत्काल निम्न कार्यका लागि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

रवि लामिछानेलाई नख्खु कारागार पुर्‍याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार पुर्‍याइएको छ । कारागार व्यवस्थापन विभागले हिजो गरेको निर्णय अनुसार लामिछानेलाई आज रुपन्देही कारागारबाट सिधै नख्खु ल्याइएको हो ।

बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार पुर्‍याइएको हो । उनको स्वागतमा नख्खु कारागारमा पार्टीका सांसद, नेता तथा समर्थकहरू पुगेका छन् ।

उनीहरूले लामिछानेको पक्षमा प्रतिशोध भएको भन्दै नाराबाजी गरिरहेका छन् ।

 

रवि लामिछानेलाई लुकाएर नेपाल आयल निगमको बाटोबाट लगियो कारागार (तस्बिरहरु)

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खुकारागार लगिएको छ ।

रुपन्देहीबाट काठमाडौं विमानस्थलबाट कारागारतर्फ लगिएको हो। लामिछानेका समर्थक त्रिभुवन विमानस्थल अगाडि जम्मा भएर बसेका थिए। तर, आयल निगमबाट निकालिएर नख्खु लगिएको हो।

रविलाई ल्याउने भनेपछि रास्वपाका नेता कार्यकर्ता विमानस्थलमा भेला भएका थिए । तर उनलाई लुकाएर नेपाल आयल निगमको बाटोबाट निकालियो, निकालिएपछि कार्यकर्ता हेरेको हेर्‍यै भएका छन् ।

 

 

चालु आवको पहिलो महिनाः सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना सरकारले रू ८५ अर्ब १९ करोड आम्दानी गर्दा रू ४६ अर्ब ३० करोड खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो महिना वार्षिक लक्ष्यको पाँच दशमलव ५६ प्रतिशत आम्दानी र दुई दशमलव ३६ प्रतिशत खर्च भएको हो । सरकारले चालु आवमा रू १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ ।

साउन मसान्तसम्ममा कर राजस्वबाट रू ८० अर्ब ६७ करोडभन्दा बढी अर्थात् वार्षिक लक्ष्यको छ दशमलव ०९ प्रतिशत र गैरकर राजस्वबाट रू तीन अर्ब ७९ करोड ५० लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४६ प्रतिशत सङ्कलन भएको विवरणमा उल्लेख छ । यस्तै, वैदेशिक अनुदानबाट रू ४२ करोड १९ लाख र अन्य प्राप्तिबाट रू ३० करोड ८९ लाख राजस्व सरकारी खातामा जम्मा भएको छ ।

यस वर्ष रू १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख कर राजस्व, रू एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख गैरकर राजस्व र रू ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान उठाउने सरकारको लक्ष्य छ । चालु आवका लागि रू १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याइएकामा साउन मसान्तसम्ममा रू ४६ अर्ब ३० करोड ६१ लाख बराबर खर्च भएको छ । चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड बजेट विनियोजन भएकामा हालसम्म एक दशमलव ५६ प्रतिशत अर्थात् रू १८ अर्ब ४७ करोड ९८ लाख बराबर खर्च भएको महालेखाले जनाएको छ ।

यस्तै, पुँजीगत शीर्षकमा रू चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा शून्य दशमलव १८ प्रतिशत अर्थात् रू ७२ करोड ६३ लाख मात्रै खर्च भएको छ । पहिलो महिनामा सबैभन्दा धेरै खर्च वित्तीय व्यवस्था शीर्षकमा भएको छ । चालु आवका लागि वित्तीय व्यवस्था शीर्षकमा रू तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख बराबर विनियोजन भएकामा साउन मसान्तसम्म सात दशमलव २२ प्रतिशत अर्थात् रू २७ अर्ब १० करोड खर्च भएको छ ।

रविले भैरहवा कारागारको भित्तामा लेखे- अब कृष्ण जन्मिने छैन, जन्मेकाहरू नै कृष्ण बन्नुपर्नेछ

काठमाडौँ ।  रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा आउन लागेका रास्वपा सभापति रवि लामिछानेले आफू बसेको भित्तामा अब कृष्ण जन्मंदैनन्, जन्मेकैहरू बन्नुपर्छ लेखेका छन् ।

रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आउने क्रममा भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वणिम वाग्ले र प्रवक्ता मनिष झासँग यस्तो बताएका हुन्।

पार्टी लुम्बिनी प्रदेशको प्रशिक्षण कार्यक्रममा सहभागी रहेका नेता मनिष झा र उपसभापति डा. स्वर्णिम वाग्लेले लामिछानेलाई कारागारमै भेट्ने प्रयास गरेका थिए। तर कारागार प्रशासनले अनुमति नदिएपछि उनीहरूले भैरहवा विमानस्थलको प्रतीक्षालयमा करिब दुई मिनेट लामिछानेसँग भेट गरेका हुन्।

‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु,’ लामिछानेको भनाइ उद्धृत गर्दै झाले भने, ‘अब कृष्ण जन्मिने छैन । जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ ।’

रविले राजनीतिक प्रतिशोधको मंगलग्रह नै लागे पनि आफू नडराउने बताएको पनि झाले बताए ।

‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो,’ झाले रविको भनाइ उद्धृत गर्दै भने, ‘जसरी सक्छन् जता सक्छन् लग्न देऊ । केही फरक पर्दैन ।’

लामिछाने १ सय २६ दिन भैरहवा कारागार बसेर आज नख्खु सरुवा हुन लागेका हुन् ।

रवि काठमाडौं आउँदै, विमानस्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ ।

बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिन लागेको हो । अहिले विमानस्थलमा उनका समर्थक तथा रास्वपा नेताहरू बाक्लो संख्यामा उपस्थित भएका छन् । त्यस्तै सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

उता ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा हुन थालेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।

उनलाई कारागार व्यवस्थापन विभागको निर्णय अनुसार आज नख्खु ल्याउन लागिएको हो ।

लाखे जात्रा हेर्न पुगे सभामुख

हरेक वर्षको रक्षा बन्धन जनै पूर्णिमाबाट सुरु हुने लाखे जात्रा पर्व श्रीकृष्ण जन्माष्टमिको भोलिपल्ट सकिन्छ । ताप्लेजुङ समाज र ताप्लेजुङ नेवा: संस्कृती समाजको आयोजनामा काठमाडौंमा आज लाखे जात्रा महोत्सव मनाइएको छ ।
सभामुख देव राज घिमिरेको प्रमुख आतिथ्यतामा महोत्सव विभिन्न झाकी सहित मनाइएको हो ।

कृष्णजन्माष्टमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल द्वारा पाटनको कृष्ण मन्दिर दर्शन

कृष्णजन्माष्टमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल द्वारा पाटनको कृष्ण मन्दिर दर्शन ।

तस्बिर :

 

निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्छः मन्त्री पाण्डे

काठमाडौँ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको पर्यटन विकासका लागि निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार आयोजित ‘दृश्यमा कोशी प्रदेश’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भने–  ‘पर्यटन पूर्वाधार विकासका लागि लगानी आवश्यक पर्छ । सरकार एक्लैले सबै कुरा गर्न सक्दैन । यसका लागि निजी क्षेत्रलाई लगानीका लागि रातो कार्पेटमा स्वागत गर्नुपर्छ ।’

मन्त्री पाण्डेले मन्त्रालयले अहिले नीतिगत सुधारमा विशेष ध्यान दिएको उल्लेख गर्दै निजी क्षेत्रलाई सहज लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताए । अर्थमन्त्रीले पर्यटनलाई थोरै महत्त्व दिएकोमा गुनासो गर्दै मन्त्री पाण्डेले भने, ‘पर्यटन मन्त्रालयसँग सबैतिरबाट अपेक्षा धेरै हुने भए पनि सरकारले निर्माण गर्ने बजेट प्राथमिकतामा कम पर्ने गरेको छ । अन्य मन्त्रालयको तुलनामा पर्यटन मन्त्रालयको बजेटको आकार निकै सानो छ । त्यसकारण सीमित स्रोतसाधनका बिच हामीले काम गर्ने प्रयासहरू गरिरहेका छौँ ।’

मन्त्री पाण्डेले नेपाललाई दृश्यको माध्यमबाट अझ सुन्दर बनाउन देखाउन हामी सबैले लाग्नुपर्ने समेत बताए । उनले देशभन्दा बाहिरको मानिस एक पटक आएपछि पटक पटक आउने वातावरण सिर्जना गर्न गरी काम भइरहेको उल्लेख गर्दै थपे, ‘विविधतापूर्ण संस्कृति र प्रकृतिलाई दृश्यमा ल्याउन सकेमा पर्यटन विकास हुने र यसले आर्थिक समृद्धिको मार्ग तय गर्छ ।’

मन्त्री पाण्डेले किरात सर्किटलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । कोशी प्रदेशले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउन, पर्यटन व्यवसायीलाई हौसला प्रदान गर्न सङ्घ सरकार प्रतिबद्ध भएकोसमेत मन्त्री पाण्डेले बताए ।

प्रकृति र संस्कृति लाई सँगसँगै लैजानुपर्ने उल्लेख गरे ।  ‘सगरमाथा जसरी उभिएको छ, त्यो गौरव, यससँग जोडिएको हाम्रो विचार, त्यो गौरवसँग जोडिएको हाम्रो दर्शन र हाम्रो अभिभारालाई पूरा गर्न हाम्रा प्राकृतिक सम्पदा र सांस्कृतिक धरोहरहरूको कथा हामीले सुनाउनुपर्छ र देखाउनुपर्छ ।’

कयौँ पर्यटकीय गन्तव्यहरूको खोज तथा अन्वेषण नै हुन नसकेको उल्लेख गर्दै ती ठाउँहरूको अनुसन्धान र अन्वेषण गर्ने र त्यसबाट समग्र देशलाई नै लाभान्वित बनाउने काममा हामी काम गरिरहेका छौँ ।

त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पछिल्लो समय पर्यटकहरूको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएको उल्लेख गरे । उनले भने, ‘पछिल्ला वर्षहरूमा पर्यटकको प्रवृत्ति बदलिएको छ । भएका गन्तव्यभन्दा आफैँ गन्तव्य खोज्दै हिँड्ने पर्यटकहरूको सङ्ख्यामा बिस्तारै वृद्धि भइरहेको छ ।’

सीईओ जोशीले नेपालमा निर्माण हुने चलचित्र तथा गीत संगीतका भिडियोहरूले पनि नेपालका पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार गरिरहेको र नेपालका गन्तव्यहरूको ब्राण्डिङ गरेर विदेशी पर्यटकहरूलाई नेपाल ल्याउने प्रवर्द्धनात्मक कामहरू गर्न सबै निकायसँग सहकार्य भइरहेको समेत बताए ।

०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले रास्वपाले ०८४ मा रास्वपाले १९० सिट ल्याउने दाबी गरेका छन्।

शनिबार काठमाडौँको जडीबुटीमा मेलुङ–सैलुङ सम्पर्क विभागले आयोजना गरेको वृहत् भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद खनालले हालका १९ जना सांसदले नै संसदमा प्रश्न खडा गरिरहेको भन्दै १९० जना सांसद पुगेपछि कांग्रेस र एमालेले झनै दबाब महसुस गर्ने बताएका हुन्।

‘हाम्रो १९ जना देखेर डराएका होइनन्, हामी १९ जनाले पनि तर्साइ त राखेका छौं तर उहाँहरूको मना के ढ्याँग्रो पिट्न थाल्यो भने, १९ को सट्टा १९० आउने भए यिनीहरू,’ सांसद खनालले भने, ‘१९ को सट्टा अब ०८४ मा १९० हुने भए । १९ ले त यस्तो धौ–धौ पार्दछन्, १९ ले त यस्ता अफ्ठयारा अफ्ठ्यारा प्रश्न सोध्छन्, १९० जना राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रतिनिधि सभामा हुँदा के हुन्थ्यो होला ?’

१९ जना सांसदहरूले अहिलेका बाँकी सांसदहरुलाई चुनौती दिइरहेको सांसद खनालको भनाइ थियो । उनले कांग्रेस र एमालेका सांसदहरूले संसदमा रास्वपामाथि मात्र आक्रमण गर्ने गरेको आरोप लगाए ।

रुपन्देही कारागारबाट निकालियो रविलाई, काठमाडौं ल्याइँदै

बुटवल । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थानान्तरणका लागि बाहिर निकालिएको छ ।

उनलाई ललितपुरस्थित नख्खु कारागार स्थानान्तरणका लागि भैरहवा कारागारबाट बाहिर निकालिएको हो ।

लामिछानेलाई कारागारबाट गौतमबुद्ध विमानस्थल लगिने र बुद्ध एअरको जहाज मार्फत काठमाडौं ल्याईँदै छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।

उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए । अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।

त्यसको करिब ४० दिनपछि हिजोमात्रै कारागार व्यवस्थापन विभागले कारागार सरुवा गर्ने निर्णय गरेको थियो ।सोही निर्णय बमोजिम आज उनलाई ललितपुरको नख्खु कारागार ल्याईदै छ ।

 

सुक्खा पहिरो खस्दा सडक अबरुद्ध

बागमती । सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अबरुद्ध भएको छ ।

हेटौंडा–फाखेल–दक्षिणकाली काठमाडौं सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेमा आज विहान ९ः३० बजेतिर सुक्खा पहिरो खस्दा यस क्षेत्रमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

यस्तै त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडा नजिकै ढुङ्गा र रुख खस्दा सडक पूर्ण रुपमा अबरुद्ध भएको छ । दुवै ठाउँमा डोजर परिचालन गरी पहिरो पन्छ्याउने काम भइरहेको उनको भनाइ छ ।

रविलाई काठमाडौ ल्याइँदै, विमानस्थल पुगे नेता कार्यकर्ता (तस्बिरहरु)

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौ ल्याउन लागेपछि पार्टीका नेता कार्यकर्ता त्रिभुवन विमानस्थल पुगेका छन् ।उनलाई ललितपुरस्थित नख्खु कारागार राखिने भएको छ । हिजोमात्रै कारागार विभागले उनलाई कारागार सरुवाको निर्णय गरेर कार्यान्वयनका लागि पत्र पठाएको थियो ।

सोही अनुसार, उनलाई आजै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ललितपुरस्थित नख्खु कारागार लगिने भएको हो ।

उनलाई काठमाडौँ ल्याउनका लागि केहि बेर अघिमात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरीको गाडी कारागार पुगेको थियो । अब केहीबेरमा उनी जहाजमार्फत काठमाडौं आईपुग्ने भएका छन् । उनलाई काठमाडौँ ल्याईने भएपछि पार्टीका नेता तथा कार्यकर्ताहरु विमान स्थलमा पुगेका छन् ।

सहकारीका समस्या समाधानमा सरकारको सक्रियताः छ हजार ७०० जनाको बचत फिर्ता

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्या समाधानमा सरकार सक्रिय रहेको बताउँदै हालसम्म छ हजार ७०० जनाको बचत फिर्ता भएको जानकारी दिनुभएको छ ।

साथै उहाँले संवैधानिक व्यवस्थानुसार भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन भूमिसम्बन्धी विधेयक सदनबाट पारित गर्ने प्रयास भएको बताउनुभएको छ ।

मन्त्री अधिकारीले घर जग्गा व्यवसाय गर्न अनुमति लिएका कम्पनीले हदभित्रको जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर वा आवास इकाई (अपार्टमेन्ट) निर्माण गरी बिक्री गर्न पाउने कानुनी व्यवस्था मिलाउन तथा भूमिहीन दलित र सुकुमबासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न विधेयक प्रस्तुत गरिएको बताउनुभएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बितेका १८ महिनामा गरेका प्रमुख काम र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा केन्द्रित रहेर मन्त्री अधिकारीले राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेसँग भन्नुभयो, “सरकार जनताको अभिभावक भएकाले उनीहरुका समस्या समाधान गर्नुपर्छ, नमिलेका कानुन मिलाउनुपर्छ, सबै समस्याको सम्बोधन गर्दै रोजगारी दिलाउनुपर्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्नेतर्फ लाग्नुपर्छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण जनतासँग प्रत्यक्ष जोडिएको मन्त्रालय हो । यसमा गरिबी निवारणसँग सम्बन्धित काम अन्य निकायले समेत गर्दै आएका छन् । नाम भने हामीसँग छ । गरिबी निवारण भनिसकेपछि त्यससँग सम्बन्धित जुनसुकै सरोकारबाला निकाय हुन् उनीहरुसँग सम्बन्ध र समन्वय गरेर कार्यक्रम लैजानुपर्छ भन्ने हाम्रो मन्यता छ । कहाँ गरिब बस्ती छ, कति परिवार छन् छुट्याउने काम हाम्रो हो । त्यसैका आधारमा यससँग सम्बन्धित १४ वटा मन्त्रालयले एकीकृत योजना लागू गर्नुपर्छ । अहिले हामी गरिब पहिचान गर्दैछौँ । एक वर्षभित्र सो कार्य सम्पन्न गर्छौँ । यसमा प्राथमिकताका साथ अघि बढ्ने र जग्गासम्बन्धी काम गर्नुपर्नेछ । लामो समयदेखि नै बसोबास गर्दै आए पनि अहिले कैयौँ स्थानका नागरिकले अझै आफ्नो नाममा जग्गा छैन भन्नुपर्ने अवस्था छ ।

यसलाई छिटो हल गर्नुपर्छ भन्ने सरकारको दृष्टिकोण हो । त्यस सिलसिलामा नमिलेका कानुनलाई मिलाउनुपर्छ । सोसम्बन्धी समस्या समाधान गर्न मालपोत र नापी निर्देशिका जारी गरिसकिएको छ । केही नियमावली बनाएर समस्या समाधान गरिएको छ ।

सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको छ । विगतमा पनि धेरै आयोग गठन गरियो, तर ठोस काम भएन भन्ने गुनासो छ । विगतमा पनि आयोग बने तर तिनलाई अधिकार दिइएन । कतिपय अवस्थामा सरकारको फेरबदल भएसँगै पूर्ण अवधि आयोगले काम गर्न पनि पाएनन् । यी सबै कारणले जति परिणाम दिनुपथ्र्यो त्यो नभएकै हो ।

विगतमा राजनीतिक परिवर्तन र लोकतान्त्रका लागि आन्दोलन गरेका मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सरकार छ । भूमिसम्बन्धी आयोग अधिकारसम्पन्न हुनुपर्ने मान्यतालाई आत्मसात् गर्दै सरकारले यसलाई अधिकारसहितको स्वायत्तता दिएको छ । यसले काम गरिरहेको छ । आयोगले गर्ने कामको किटान गर्न नमिलेका कानुनलाई मिलाउन तथा आवश्यक कानुन निर्माण गर्ने सिलसिलामा भूमिसम्बन्धी विधेयक ल्याइएको छ ।

भूमिसम्बन्धी विधेयक संसदीय समितिमा विचाराधीन छ । विधेयक ल्याउनुको उद्देश्यविपरीत भ्रम फैलाउने प्रयास भएको छ । प्रस्तुत विधेयकले भूमिसम्बन्धी ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन र वन ऐनका केही दफामा संशोधन प्रस्ताव गरेको छ । नेपाल भूमि कायम हुँदाका बखतदेखि नै बसोबास गरिरहेकाले पनि हालसम्म लालपुर्जा प्राप्त नगरेको अवस्था छ ।

त्यसैगरी २००७, २०१२, २०१९, २०२०, २०२८ र २०३६ मा पनि नयाँ बस्ती बसेका छन् । त्यस्ता वासोबासीले जग्गाको स्वामित्व पाएका छैनन् । सरकारले पनि ती बस्ती हटाउन नसक्ने, बरु त्यहाँ नागरिकको सहजताका लागि सडक, पानी, विद्युत् सबै सुविधा उपलब्ध गराएर त्यसका आधारमा नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र दिएको छ । तर जग्गाको लालपूर्जा नदिइँदा जनताको भूमिसम्बन्धी हक खोसिनाका साथै राजस्व पनि गुमिरहेको अवस्था छ ।

त्यसकारण यो अवस्थालाई अन्त्य गर्न प्राथमिकताका साथ उनीहरूलाई लालपूर्जा उपलब्ध गराउने प्रयास भइरहेको छ । तर, ‘लौ सरकारी जग्गा मास्ने भए, हुने खानेलाई सयौँ विगाह दिने भए, वनजङ्गल मास्ने भए’ भन्ने हल्ला फिँजाइएको छ । यस्ता भ्रामक कुराबाट हामी सबै मुक्त हुनुपर्छ ।

तराईमधेसमा बसोबास गर्ने भूमिहीन दलित र सुकुमबासीले आफूले भोगचलन गरेका छन्भने पौने छ कट्ठासम्म जग्गाको पूर्जा प्राप्त गर्न सक्छन् । त्यसरी वितरण गर्ने जग्गा स्थानीय तहले वर्गीकरण गर्दा बस्ती र घडेरीयोग्य भनी छुट्टयाएमा त्यही घडेरी पाउनुहुन्छ । गाउँको बस्तीमा रहेछ भने तीन कट्ठा, सहरी इलाकाको बस्तीमा रहेछ भने १० धुर प्रदान गरिने छ । प्राकृतिक विपद्को जोखिमयुक्त क्षेत्रमा बसोबास गरेकालाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराइने छ ।

अव्यवस्थित बसोबासीका दुईतीन ठाउँमा जग्गा रहेछ भने राज्यले तोकेको राजस्व बुझाएर लिन सक्नेछन् । त्यो भनेको खरिद गर्ने हो । त्यसको पनि मापदण्ड छ । अव्यवस्थितले भने जहाँ छ त्यही पाउने हो । जग्गाको मूल्याङ्कनअनुसार पाँच कट्ठासम्म पाँच प्रतिशत राजस्व लिइने छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको समितिले निर्धारित मापदण्डका आधारमा मूल्य निर्धारण गर्नेछ ।

मन्त्रालयका अर्को मुख्य काम सहकारीसम्बन्धी समस्या समाधान गर्नु हो । कतिपय सहकारी उद्देश्य विपरित सञ्चालन गरिएको, बचतकर्ताको रकम हिनामिना भएको र त्यसबाट बचतकर्ता मर्कामा परे भन्ने कुरा आएपछि मन्त्रालयले विज्ञको रायका आधारमा समस्या समाधानका प्रयासलाई प्रभावकारी रुपमा अघि बढाएको छ । त्यसलाई निष्कर्षमा पुर्याउन कानुनीलगायत संरचनागत व्यवस्था पनि गरिएको छ ।

समस्याग्रस्त सहकारी समस्या समाधान समितिमार्फत बचतकर्ताको करिब रु चार अर्ब बाँडफाँट भएको छ । हालसम्म छ हजार ७०० जनाको बचत फिर्ता भइसकेको छ । करिब ५६ हजारको आंशिक रकम फिर्ता गरिएको छ । समस्याग्रस्त घोषणा भएका मध्ये तीन वटाको हिसाबकिताब ‘राफसाफ’ भइसकेको छ । दुई वटाको काम अन्तिम चरणमा पुगेको छ । आगामी वर्ष समस्याग्रस्त थप १० वटासहकारीको व्यवस्थापन गर्नेछौँ ।

जनहितका कामलाई छिटो अघि बढाउनुपर्छ, अल्झाएर राख्न हुन्न भन्ने अभियानमा मन्त्रालय छ । मन्त्रालयले एक हप्ताभित्रमा निर्णय गर्नुपर्ने ‘फाइल’ अल्झाएर राख्न मिल्दैन भन्ने प्रधानमन्त्रीको निर्देशन छ । गठन भएका निकायले पनि लक्ष्यित परिणाम प्राप्त गर्न विनियमावली र निर्देशिकाको काम गरिरहेको अवस्था छ । सञ्चार जगत्ले पनि भएका असल अभ्यासलाई जनसमक्ष पुर्याउनुपर्छ ।”