`

राजेश हमाललाई हर्कले भने – ‘अब माटो चुनाव चिन्हबाट चुनाव लड्नुपर्छ !’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अभिनेता राजेश हमालसँग सम्बन्धित विषयमा एकै दिनको अन्तरालमा तीन वटा फेसबुक पोस्ट गरेका छन्।

शनिबार अध्यक्ष राईले अभिनेता हमाललाई आफ्नो दलमा भित्र्याउने चाहना रहेको उल्लेख गर्दै सार्वजनिक रूपमा प्रस्तावसमेत अघि सारेका थिए।

उनले हमालजस्ता व्यक्तित्वले राजनीतिमा प्रवेश गरे पार्टीलाई मात्र नभई राष्ट्रिय राजनीतिलाई समेत नयाँ दिशा दिन सक्ने संकेत गरेका छन्।

त्यसपछि उनले अर्को पोस्टमार्फत आगामी निर्वाचनमा आफ्नो पार्टी ‘माटो’ चिन्हबाट चुनाव लड्नुपर्ने धारणा व्यक्त गरेका छन्। उक्त पोस्टमा उनले संगठन विस्तार, जनस्तरको मुद्दा र वैचारिक स्पष्टताका आधारमा पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

तेस्रो पोस्टका रूपमा उनले हालै अभिनेता हमालले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै दिएको अभिव्यक्ति समेटिएको एक भिडियो पनि सेयर गरेका छन्। उक्त भिडियोमा हमालले देशको नेतृत्व गर्ने व्यक्तिले गम्भीर, संयमित र दूरदृष्टिपूर्ण हुनुपर्ने आवश्यकता औँल्याएका थिए।

हर्कराज राईले लगातार हमालसँग सम्बन्धित सामग्री साझा गरेपछि सामाजिक सञ्जालमा यसको राजनीतिक अर्थबारे पनि चर्चा सुरु भएको छ।

हमाल पछिल्लो समय सरकारप्रति आलोचनात्मक अभिव्यक्तिहरू दिँदै आएका छन्।

उनको स्टाटस यस्तो छ :

बालेन सरकारमाथि कांग्रेसको सूक्ष्म निगरानी

काठमाडौं। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारका हरेक कामकारबाहीमाथि नेपाली कांग्रेसले निगरानी बढाउने भएको छ ।

जनताको हित र राष्ट्रका हित विपरीत कार्य गरे खबरदारी गर्न बालेन सरकारको सूक्ष्म निगरानी कांग्रेसले गर्ने भएको हो । यसका लागि कांग्रेसले मन्त्रालयगत संयोजक तोकेका सांसदहरूको बैठक आइतबार बसेको छ ।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले मन्त्रिपरिषद्का निर्णय, मन्त्रालयगत गतिविधि तथा सरकारका नीतिगत र प्रशासनिक कामको नियमित अनुगमन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी संयोजक सांसदहरूले विभिन्न मन्त्रालयको कार्यसम्पादन, जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय तथा सरकारको प्रभावकारिताबारे धारणा राखेका थिए ।

बैठकले बालेन सरकारका कामकारबाहीको अध्ययन र विश्लेषण गरी आवश्यक विषय संसदमा सशक्त रूपमा उठाउने, राष्ट्रिय महत्वका मुद्दामा कांग्रेसको धारणा निर्माण गर्न सुझाव दिने तथा जनताका गुनासा र समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍ाउने निर्णय पनि गरेको छ।

कांग्रेसले सरकारको कामको प्रभावकारी निगरानीका लागि मन्त्रालयगत संयोजकहरूको सक्रियता बढाउने र नियमित समीक्षा गर्ने नीति लिएको छ । यसका लागि संयोजकहरूको बैठक प्रत्येक महिना कम्तीमा एकपटक अनिवार्य रूपमा बस्ने व्यवस्था गरिएको छ भने आवश्यकता अनुसार जुनसुकै बेला बैठक बोलाउन सकिने जनाइएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकपछि कांग्रेसले संसदभित्र र बाहिर दुवै मोर्चाबाट सरकारलाई जवाफदेही बनाउन तथा जनचासोका विषयमा दबाब सिर्जना गर्न आफ्नो भूमिका थप सशक्त बनाउने संकेत दिएको छ ।

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्य गराएको आरोप, पक्राउ परिन् सञ्चालिका

काठमाडौं। ललितपुरको सानेपास्थित एक स्पा सेन्टरमा कार्यरत बालिकालाई जबरजस्ती अनैतिक गतिविधिमा संलग्न गराएको आरोपमा प्रहरीले स्पा सञ्चालिकालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२, अरुणथापा चोकमा सञ्चालन हुँदै आएको ‘शुकल्प स्पा एण्ड थेरापी’की सञ्चालिका गोरखा सिरानचोक गाउँपालिका–३ घर भएकी सुमन थापा मगर उर्फ सुमन कुमाल रहेकी छन्। उनलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, स्पा सेन्टरमा स्टाफका रूपमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभनमा पारी सेवा लिन आउने ग्राहकहरूको इच्छाअनुसार जबरजस्ती अनैतिक कार्य गराइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले छापा मारी उनलाई पक्राउ गरेको हो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धानका लागि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ। जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घटनासँग सम्बन्धित अन्य पक्ष र सम्भावित संलग्न व्यक्तिहरूबारे समेत अनुसन्धान जारी रहेको छ।

साथै, पीडित बालिकाको संरक्षण र आवश्यक कानुनी तथा मनोसामाजिक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको जनाइएको छ।

नेपाल-भारतबीच ‘क्रस बोर्डर पेमेन्ट’ सुरू

काठमाडौं । नेपाल र भारतबीच भएको ‘क्रस बोर्डर पेमेन्ट’ सम्झौता औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच भएको भेटवार्तापछि उक्त प्रणाली लागू गर्ने सहमति कार्यान्वयनमा आएको हो।

यो व्यवस्थासँगै अब दुवै देशका नागरिकले अनलाइन माध्यमबाट व्यक्तिगत रूपमा रकम आदानप्रदान गर्न सक्ने भएका छन्। प्रारम्भिक चरणमा भने सीमित बैंक तथा वित्तीय संस्थामार्फत मात्रै सेवा उपलब्ध गराइएको छ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का अनुसार सेवा सञ्चालनमा रहेका वाणिज्य बैंकका ग्राहकले आफ्नो बैंकको मोबाइल बैंकिङ एप वा ‘कनेक्ट आईपीएस’ एप प्रयोग गरी भारतमा सिधै रकम पठाउन सक्नेछन्। यसका लागि बैंकहरूले आफ्ना मोबाइल एपमा ‘क्रस बोर्डर फण्ड ट्रान्सफर’ नामक सुविधा समावेश गरेका छन्।

रकम पठाउँदा प्राप्तकर्ताको बैंक खाता नम्बर वा मोबाइल नम्बरमा आधारित भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यसले परम्परागत रेमिटेन्स प्रक्रिया भन्दा छिटो, सहज र कम झन्झटिलो सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

भारततर्फ पनि हाल केही निश्चित बैंकहरूले मात्रै यो सुविधा सञ्चालनमा ल्याएका छन्। आगामी दिनमा थप बैंकहरू जोडिँदै जाने र सेवाको दायरा विस्तार गरिने जनाइएको छ।

यसैबीच, नबिल बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘एन बैंक’ मार्फत नेपाल–भारत–नेपाल रियल टाइम पर्सन-टु-पर्सन (पीटुपी) रेमिटेन्स सेवा सुरु गरिसकेको छ। यसअन्तर्गत नबिल बैंकमा खाता भएका ग्राहकहरूले मोबाइल एपबाटै भारतमा रहेका आफन्त, परिवार वा साथीभाइलाई रकम पठाउन सक्नेछन्। त्यस्तै, भारतबाट पनि नेपालमा रहेको नबिल बैंक खातामा प्रत्यक्ष रकम पठाउन सकिने सुविधा उपलब्ध भएको बैंकले जनाएको छ।

विशेषगरी अध्ययन, स्वास्थ्य उपचार, पारिवारिक खर्च तथा साना व्यक्तिगत कारोबारका लागि यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। नेपाल र भारतबीच खुला सीमाना र घनिष्ठ जनस्तरको सम्बन्ध रहेको सन्दर्भमा यस्तो डिजिटल भुक्तानी प्रणालीले आर्थिक कारोबारलाई थप सरल, सुरक्षित र पारदर्शी बनाउने विश्वास गरिएको छ।

रास्वपा बारा लफडा : केन्द्रीय कार्यालय घेराउ गर्न पुगे कार्यकर्ता [तस्वीरहरू]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कलैया उपमहानगरपालिकाको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद चर्किएको छ।

विवादका बीच कलैयाका कार्यकर्ताहरूले आइतबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन्।

आन्दोलनरत कार्यकर्ताहरूका अनुसार नगर अधिवेशनमा उमाशंकर रौनियार १२४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका थिए।

निर्वाचन सम्पन्न भई विजयी उम्मेदवार तथा पदाधिकारीहरूको शपथ ग्रहणसमेत भइसकेपछि पुनः निर्वाचन गराउने सूचना सार्वजनिक गरिएपछि विवाद सुरु भएको उनीहरूको भनाइ छ।

प्रदर्शनकारीहरूले मधेश प्रदेश समितिको तर्फबाट ‘५० प्लस १’ बहुमत नपुगेको आधार देखाउँदै पुनः निर्वाचनको सूचना जारी गरिएको दाबी गरेका छन्। उनीहरूको आरोप छ, यस्तो निर्णय पार्टीको विधान र लोकतान्त्रिक अभ्यासविपरीत छ।

उनीहरूले एकपटक निर्वाचन सम्पन्न भई आधिकारिक रूपमा विजयी घोषणा गरिसकेपछि पुनः निर्वाचन गराउने निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।

कार्यकर्ताहरूले कुनै आधिकारिक लेटरहेड वा हस्ताक्षरबिनै सामाजिक सञ्जालमार्फत निर्वाचन रद्द गरिएको सूचना सार्वजनिक गरिएको भन्दै पार्टी नेतृत्वसँग स्पष्ट जवाफ र निष्पक्ष निर्णयको माग गरेका छन्।

साथै, पार्टीले देशभर सञ्चालन गरिरहेको अधिवेशन प्रक्रियामा पारदर्शिता कायम गर्न, विधानअनुसार निर्णय गर्न तथा कार्यकर्ताको मतको सम्मान गर्नुपर्ने उनीहरूको माग रहेको छ।

तस्वीरहरू:

प्रचण्ड गर्मी : छालालाई कसरी जोगाउने ?

काठमाडौं। गर्मीको तीव्रता दिनप्रतिदिन बढ्दै गएको छ। तापक्रम उकालो लागेसँगै यसको प्रत्यक्ष असर मानव छालामा स्पष्ट रूपमा देखिन थालेको छ।

अहिले अस्पताल तथा छाला क्लिनिकहरूमा बिरामीहरूको चाप बढेको छ। कसैलाई अनुहारमा चायाँ-पोतोको समस्या छ भने कसैलाई घमौराले सताइरहेको छ। फंगल संक्रमण, छाला चिलाउने तथा डन्डीफोरजस्ता समस्या पनि उल्लेख्य रूपमा बढेका छन्।

चिकित्सकहरूका अनुसार अहिलेको मौसम छालाका लागि अनुकूल छैन। चर्को घाम, निरन्तर पसिना र सडकको धुलो-धुवाँको मिश्रणले छालाको प्राकृतिक सुरक्षा तह कमजोर बनाइरहेको छ। जसको परिणामस्वरूप छालाको चमक घट्ने मात्र होइन, विभिन्न प्रकारका संक्रमण र दीर्घकालीन समस्याहरू देखिन सक्ने जोखिम बढेको छ। छाला रोग विशेषज्ञहरूको भनाइ छ,‘गर्मी मौसमलाई हल्का रूपमा नलिनुहोस्, छालाको नियमित हेरचाह अनिवार्य छ।’

उनीहरूका अनुसार सानो सावधानीले पनि धेरै समस्या रोक्न सकिन्छ।

विशेषगरी अनुहारमा देखिने कालो दाग, चायाँ-पोतोको समस्या महिला मात्र होइन पुरुषमा पनि उत्तिकै देखिएको छ। बाहिर लामो समय काम गर्ने, घाममा हिँड्ने वा छालाको उचित सुरक्षा नगर्ने व्यक्तिहरू बढी प्रभावित भइरहेका छन्।

वरिष्ठ छाला रोग विशेषज्ञ डा. भाष्करमोहन कायस्थका अनुसार सूर्यबाट निस्कने पराबैजनी (युभी) किरणले छालाको कोषमा प्रत्यक्ष असर पार्छ। लामो समय घाममा बस्दा मेलानिन उत्पादन गर्ने कोष अत्यधिक सक्रिय भई अनुहारमा कालो दाग, चायाँ वा पोतो देखिन सक्छ।

उहाँका अनुसार युभी किरणले छालाको सतही मात्र होइन, गहिरो तहसम्म असर पुर्‍याउन सक्छ। यसले छालाको प्राकृतिक चमक घटाउने र समयभन्दा छिटो बुढ्यौलीका लक्षण देखिने सम्भावना बढाउँछ। अनुहार, घाँटी र हातजस्ता खुला भागहरू बढी प्रभावित हुने गर्छन्।

बजारमा चायाँ हटाउने दाबी गरिएका थुप्रै क्रिम, लेप तथा औषधिहरू उपलब्ध छन्। तर चिकित्सकको सल्लाहबिना प्रयोग गर्दा फाइदाभन्दा हानि बढी हुने उनीहरूको चेतावनी छ।

प्रारम्भिक अवस्थामा सामान्य देखिएको समस्या पनि गलत क्रिम वा अनियन्त्रित प्रयोगका कारण झन् फैलिने वा गाढा हुने जोखिम रहन्छ। छालाको प्रकृति व्यक्तिअनुसार फरक हुने भएकाले सबैका लागि एउटै उत्पादन उपयुक्त हुँदैन।

छाला परीक्षणपछि मात्र विशेषज्ञको सिफारिसअनुसार सामग्री प्रयोग गर्नुपर्नेमा चिकित्सकहरूले जोड दिएका छन्।

चिकित्सकहरूका अनुसार सुक्खा छालाका लागि मोइस्चराइजरयुक्त क्रिम उपयुक्त हुन्छ, जसले आवश्यक नमी कायम राख्छ। तर चिल्लो छालामा अत्यधिक तेलयुक्त क्रिम प्रयोग गर्दा डन्डीफोरजस्ता समस्या बढ्न सक्छन्।

त्यसैले आफ्नो छालाको प्रकार बुझेर मात्र सौन्दर्य सामग्री छनोट गर्नुपर्नेमा विशेषज्ञहरूको सुझाव छ।

गर्मी बढेसँगै देखिने अर्को समस्या घमौरा हो। अत्यधिक पसिना निस्केर पसिना नली बन्द हुँदा छालामा साना रातो दाना देखिने अवस्थालाई घमौरा भनिन्छ।

यो समस्या विशेषगरी अनुहार, घाँटी, छाती, ढाड र शरीरका गुम्सिने भागहरूमा बढी देखिन्छ। यसले चिलाउने, पोल्ने र असहजता बढाउने गर्छ।

डा. कायस्थका अनुसार घमौरा देखिएमा प्रभावित भागलाई सफा पानीले धुने र प्राकृतिक रूपमा सुक्न दिने गर्नु उपयुक्त हुन्छ। कपडाले कडा रूपमा पुछ्दा छाला झन् उत्तेजित हुन सक्छ। चिसो र हावा चल्ने वातावरणमा बस्दा निको हुने सम्भावना छिटो हुन्छ।

गर्मी मौसममा फंगल संक्रमण पनि व्यापक रूपमा देखिन्छ। पसिना जम्ने र गुम्सिने भागहरूमा ढुसीजन्य जीवाणु सक्रिय भई संक्रमण फैलिने जोखिम हुन्छ।

विशेषगरी काखी, काछ, स्तनमुनि, घाँटीका चाउरी, पेटको तह तथा खुट्टाका औंलाबीचका भागहरूमा संक्रमण बढी देखिन्छ।

संक्रमण भएको स्थान चिलाउने, रातो हुने, छाला उप्किने, कत्ला देखिने र कहिलेकाहीँ दुर्गन्ध आउने जस्ता लक्षण देखा पर्न सक्छन्। कतिपय अवस्थामा बीच भाग सामान्य र वरिपरि रातो घेरासहित गोलो दाग देखिनु दादको संकेत मानिन्छ।

विशेषज्ञहरूका अनुसार गर्मीमा नियमित सरसफाइ अत्यन्त आवश्यक छ। दिनभरि पसिना लागेको कपडा नफेर्दा संक्रमणको जोखिम बढ्छ।

सुती कपडा प्रयोग गर्न सुझाव दिइन्छ, किनकि यसले पसिना सोस्ने क्षमता राम्रो हुन्छ र छाला सुक्खा राख्न मद्दत गर्छ। भित्री वस्त्र, मोजा तथा दैनिक प्रयोगका कपडा पनि सकेसम्म सुतीकै प्रयोग गर्नु उपयुक्त हुन्छ।

राति सुत्नुअघि भित्री वस्त्र फेर्नुपर्ने चिकित्सकहरूको सुझाव छ। पुरुषका लागि खुकुलो लुगा तथा महिलाका लागि हल्का र हावा चल्ने पहिरनले छाला स्वस्थ राख्न मद्दत गर्छ।

गर्मीमा छालाको सुरक्षाका लागि सनस्क्रिन अत्यन्त आवश्यक मानिन्छ। तर धेरैलाई यसको सही प्रयोगबारे जानकारी हुँदैन, चिकित्सकहरू बताउँछन्।

अनुहार सफा गरेपछि पहिले मोइस्चराइजर लगाउने, त्यसपछि सनस्क्रिन प्रयोग गर्ने र आवश्यक परे मात्र अन्य सौन्दर्य सामग्री प्रयोग गर्ने उपयुक्त विधि हो।

सनस्क्रिन घरबाट निस्कनुभन्दा करिब ३० मिनेटअघि लगाउनु राम्रो मानिन्छ, जसले छालामा प्रभावकारी रूपमा काम गर्न समय पाउँछ। सही मात्रामा प्रयोग गरिएको सनस्क्रिनले करिब ६–७ घण्टासम्म सुरक्षा दिन सक्छ।

विशेषज्ञहरूका अनुसार घामबाट बच्नु नै छालाको सुरक्षा गर्ने सबैभन्दा प्रभावकारी उपाय हो।

घरबाहिर निस्कँदा छाता प्रयोग गर्ने, चौडा किनार भएको टोपी लगाउने र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको तीव्र घाममा लामो समय नबस्ने बानी अपनाउन सके छालालाई धेरै हदसम्म सुरक्षित राख्न सकिन्छ।

इरानी फुटबल टोलीका अधिकारीलाई अमेरिकाले भिसा नदिएपछि…

एजेन्सी। सन् २०२६ को फिफा विश्वकप नजिकिँदै गर्दा इरान र अमेरिकाबीच इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा नदिएको विषयलाई लिएर विवाद चर्किएको छ।

इरान फुटबल महासंघ ले अमेरिकी सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै यसलाई खेलभावना विपरीत, राजनीतिक रूपमा प्रेरित र अन्तर्राष्ट्रिय खेलकुद नियमको मर्मविपरीत भएको आरोप लगाएको छ।

महासंघका अनुसार राष्ट्रिय टोलीसँग सम्बन्धित व्यवस्थापकीय, प्राविधिक तथा प्रशासनिक अधिकारीहरू प्रतियोगिताको तयारीका लागि अनिवार्य हुने भएकाले उनीहरूलाई प्रवेशाज्ञा (भिसा) दिनु आवश्यक थियो। तर केही प्रमुख अधिकारीहरूको भिसा प्रक्रिया अस्वीकृत वा रोकिएको दाबी गरिएको छ।

इरानले यस विषयलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) समक्ष समेत उठाएको छ। महासंघले आयोजक राष्ट्रले सबै सहभागी टोलीका लागि समान र निष्पक्ष वातावरण सुनिश्चित गर्नुपर्ने दायित्व रहेको भन्दै यस घटनाले खेलको समानतामाथि प्रश्न उठाएको जनाएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार भिसा नपाउनेहरूमा महासंघका अध्यक्ष, महासचिव, राष्ट्रिय टोलीका कार्यकारी निर्देशक तथा सञ्चार निर्देशकजस्ता उच्च अधिकारीहरू रहेका छन्। अमेरिकी पक्षले भने राष्ट्रिय टोलीका खेलाडीहरूको भिसा प्रक्रिया पूरा भएको जनाएको छ।

टर्किएस्थित अमेरिकी राजदूतले सामाजिक सञ्जालमार्फत इरानी खेलाडीहरूको भिसा प्रक्रिया सम्पन्न भएको उल्लेख गर्दै खेलकुदले विश्वलाई जोड्ने माध्यम भएको प्रतिक्रिया दिएका छन्। उनले अमेरिका विश्वभरका खेलाडी तथा समर्थकलाई स्वागत गर्न तयार रहेको पनि बताएका छन्।

सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्। इरान समूह ‘जी’ मा रहेको छ र उसले लस एन्जलसमा न्युजिल्यान्ड, बेल्जियम र इजिप्टविरुद्ध समूह चरणका खेल खेल्ने तालिका छ।

रूस-युक्रेन तनाव : ड्रोन हानाहान जारी

काठमाडौं। रूसले सेन्ट पिटर्सबर्ग नजिकै २५ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ। लेनिनग्राद क्षेत्रका गभर्नर अलेक्जान्डर ड्रोज्डेन्को ले शनिबार टेलिग्राममार्फत सुरक्षा बलले २५ वटा मानवरहित हवाई यन्त्र (ड्रोन) नष्ट गरेको र थप सैन्य कारबाही जारी रहेको बताएका छन्।

घटना ‘रूसको डाभोस’ भनेर चिनिने सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च सञ्चालन भइरहेका बेला भएको हो। राष्ट्रपति भ्लादिमिर पुटिन ले सम्बोधन गरेको एक दिनपछि भएको यो आक्रमणलाई सुरक्षा चुनौतीका रूपमा हेरिएको छ।

मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार शनिबार राजधानी मस्कोतर्फ उडिरहेका थप नौ युक्रेनी ड्रोन पनि रूसी वायु सुरक्षाले खसालेको छ।

युद्वको सुरुवात धेरै वर्षअघि भएको हो। पछिल्ला वर्तमान घटनाले यस युद्वलाई मलजल गरेपनि सन् १९९१ मा सोभियत संघ विघटन भएपछि युक्रेन स्वतन्त्र राष्ट्र बनेपछि युक्रेनले पश्चिमी मुलुकहरूसँग सम्बन्ध विस्तार गर्न थालेको थियो। रूस भने युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रभित्रै राख्न चाहन्थ्यो।

सन् २०१४ मा युक्रेनमा भएको जनआन्दोलनपछि रूस समर्थक राष्ट्रपति भिक्टर यानुकोभिच सत्ताच्युत भए। त्यसलगत्तै रूसले युक्रेनको क्रिमिया क्षेत्र आफ्नो नियन्त्रणमा लियो। यही वर्षदेखि पूर्वी युक्रेनका डोनेट्स्क र लुहान्स्क क्षेत्रमा रूस समर्थित पृथकतावादी समूह र युक्रेनी सेनाबीच सशस्त्र द्वन्द्व सुरु भयो।

यसबीच युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) सँग निकटता बढाउँदै गयो। रूसले भने युक्रेनको सम्भावित नाटो सदस्यतालाई आफ्नो राष्ट्रिय सुरक्षामाथिको प्रत्यक्ष खतरा भन्दै आएको थियो।

अन्ततः सन् २०२२ फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गर्‍यो। राष्ट्रपति पुटिनले यसलाई ‘विशेष सैन्य अभियान’ भनेका थिए। तर युक्रेन र पश्चिमी राष्ट्रहरूले यसलाई सार्वभौम राष्ट्रमाथिको आक्रमण भन्दै व्यापक विरोध जनाए।

युद्धको सुरुआती चरणमा रूसले राजधानी कीभ कब्जा गर्ने प्रयास गरे पनि युक्रेनी प्रतिरोधका कारण पछि हट्नुपरेको थियो। त्यसपछि युद्ध मुख्यतः पूर्वी र दक्षिणी क्षेत्रमा केन्द्रित हुँदै आएको छ।

अमेरिका, बेलायत, जर्मनी लगायतका पश्चिमी राष्ट्रहरूले युक्रेनलाई ठूलो मात्रामा आर्थिक सहायता, हतियार र सैन्य उपकरण उपलब्ध गराउँदै आएका छन्। अर्कोतर्फ, रूसले आफ्नो रक्षा उद्योगलाई तीव्र रूपमा विस्तार गर्दै युद्ध जारी राखेको छ।

पछिल्ला दुई वर्षमा युद्धको स्वरूप उल्लेखनीय रूपमा परिवर्तन भएको छ। परम्परागत ट्यांक र तोपखानाको प्रयोगसँगै दुवै पक्षले लामो दूरीका मिसाइल र ड्रोन प्रविधिको व्यापक प्रयोग गर्न थालेका छन्। युक्रेनले रूसको भित्री भागमा रहेका तेल भण्डारण केन्द्र, हवाई अड्डा र सैनिक पूर्वाधारलाई लक्षित गरी ड्रोन आक्रमण गरिरहेको छ भने रूसले पनि युक्रेनका ऊर्जा संरचना र सहरहरूमा निरन्तर हवाई आक्रमण गर्दै आएको छ।

सेन्ट पिटर्सबर्ग र मस्कोजस्ता रूसका प्रमुख सहरसम्म युक्रेनी ड्रोन पुग्न थालेपछि युद्धको प्रभाव सीमावर्ती क्षेत्रबाट बाहिर फैलिएको देखिएको छ। यसले रूसको आन्तरिक सुरक्षामाथि नयाँ चुनौती खडा गरेको विश्लेषण गरिएको छ।

संयुक्त राज्य अमेरिका र अन्य अन्तर्राष्ट्रिय शक्तिहरूले पटक-पटक युद्धविराम र वार्ताको प्रयास गरे पनि अहिलेसम्म स्थायी समाधान निस्कन सकेको छैन।

बरु पछिल्ला महिनाहरूमा दुवै पक्षका ड्रोन तथा मिसाइल आक्रमण अझ तीव्र बन्दै गएका छन्।

…अन्ततः यस्तो पत्र लेखेर अरशदले छोडे कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस कपिलवस्तुका सहसचिव वाजीह अरशदले पार्टी सदस्यता समेत त्याग्दै राजीनामा दिएका छन्।

उनले आजैदेखि लागू हुने गरी नेपाली कांग्रेसको साधारण सदस्य र पार्टी पद दुवैबाट अलग भएको घोषणा गरेका हुन्।

अरशदले पार्टीको हितमा कुरा उठाउँदा आफूलाई लगातार घेराबन्दीमा पारिएको र जिल्लाको नेतृत्वको कार्यशैलीसँग असहमति रहेको भन्दै राजीनामा दिएको बताएका छन्।

उनका अनुसार पार्टीभित्र पुराना कार्यकर्तालाई उचित सम्मान नदिइने र उनीहरूलाई विस्थापित गर्ने प्रवृत्ति बढेको देखिएको छ।

उनले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, ‘पार्टीको हितमा कुरा उठाउँदा चौतर्फी नेतृत्वको घेराबन्दीमा पर्दै आएको हुनाले जिल्लाको नेतृत्वको कार्यशैलीसँगको मेरो असहमति रहेको हुँदा म आफ्नो पद र नेपाली कांग्रेसको साधारण सदस्यसमेतबाट आजैको दिनदेखि राजीनामा दिने घोषणा गर्दछु।’

यो घटनालाई स्थानीय तहमा नेपाली कांग्रेसभित्र देखिँदै आएको आन्तरिक असन्तुष्टि र नेतृत्व शैलीप्रतिको प्रश्नका रूपमा हेरिएको छ।

उनको राजीनामा  पत्र यस्तो छ :

श्रीमान् सभापति ज्यू
मिति : २०८३/०२/२४

नेपाली कांग्रेस
जिल्ला कार्य समिति, कपिलवस्तु

विषय : राजीनामा सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा, नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको २०५५ सालदेखि साधारण सदस्य रही, २०५५ फाल्गुन २९ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (कपिलवस्तु बहुमुखी क्याम्पस) को निर्वाचनबाट सदस्य पदमा विजयी भई आफ्नो राजनीतिक यात्राको सुरुवात गरेको र २०६० सालमा सोही क्याम्पसको स्ववियु सभापति निर्वाचित भई २०६२ साल माघ ०५ गते र फाल्गुन १५ गते जनआन्दोलनको क्रममा गिरफ्तार भई, २०६२ साल चैत्र २५ गते तौलिहवामा माओवादी आक्रमणको समयमा गिरफ्तारीबाट मुक्त भएको र त्यसपश्चात २०६३ साल फाल्गुन १२ गते सम्पन्न नेविसंघको ८औं जिल्ला अधिवेशनबाट कपिलवस्तु जिल्लाको सभापति निर्वाचित भई पार्टीप्रति समर्पित रहेर संगठन गर्दै आएको छु। हाल नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सह-सचिव पदमा रही काम गर्दै आएको छु।

निरन्तर नेपाली कांग्रेसमा काम गर्दा अग्रजहरूको सम्मान गर्दै पार्टीभित्रका अनियमितताविरुद्ध आफ्नो आवाज सधैं बुलन्द गर्दै आएको थिएँ। तर कपिलवस्तु कांग्रेसको नेतृत्वको पृष्ठभूमि बागी र विद्रोही रहेको हुँदा पार्टीका पुराना कार्यकर्ताहरूलाई विस्थापित गर्ने खालको व्यवहार देखिएकाले म आफ्नो पदमा रही पार्टीप्रति इमान्दार कार्यकर्ताहरूलाई सम्मान दिलाउन असफल भएको छु।

पार्टीको हितमा कुरा उठाउँदा चौतर्फी नेतृत्वको घेराबन्दीमा पर्दै आएको हुनाले जिल्लाको नेतृत्वको कार्यशैलीसँग मेरो असहमति रहेको हुँदा म आफ्नो पद र नेपाली कांग्रेसको साधारण सदस्यसमेतबाट आजैको दिनदेखि राजीनामा दिने घोषणा गर्दछु। आगामी दिनहरूमा म महामानव विश्वेश्वरप्रसाद कोइरालाले देखाएको बाटो र प्रजातान्त्रिक मूल्य र मान्यताप्रति स्वतन्त्र रहँदै इमान्दार रहने गरी देश र जनताप्रति समर्पित रहने छु।

बोधार्थ :
मो. वाजीह अरशद
सह-सचिव
नेपाली कांग्रेस जिल्ला कार्य समिति, कपिलवस्तु

विवादबीच गृहमन्त्रीमा गुरुङ पुनरागमनको प्रयासमा

विवादित व्यवसायी दिपक भट्टसँगको शेयर कारोबारमा अनियमितता रहेको आरोप लागेपछि तत्कालीन गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिए।

छानबिनको माग उठेपछि सरकारले लगत्तै छानबिन समिति गठन गर्‍यो। उक्त छानबिन समितिले प्रतिवेदन सरकारलाई बुझाएपछि गुरुङ अहिले फेरि गृहमन्त्रालयमा पुनरागमन गर्ने तयारीमा छन्। यसैका लागि प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री पद खाली राखेको चर्चा पनि हुने गरेको छ। तर, जनस्तरबाट छानबिन समिति घटना टार्न बनाइएको प्रतिक्रिया आइरहेका छन्।

यही विषयमा बोल्दै गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा उनले भने, ‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ। बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु।’

छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको भन्दै उनले आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताए।

आफूले क्लिन चिट पाएर पुनः गृहमन्त्रीमा फर्किने सम्भावनाबारे उनले थपे, ‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामका लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला।’

गृहमन्त्रीबाट राजीनामा दिइसकेपछि गुरुङ विभिन्न विवादास्पद ठाउँहरूमा सहभागी भए। सशस्त्र प्रहरीको कार्यालय पुगेर प्रहरीलाई थर्काएको आरोप उनीमाथि छ। राजीनामा दिएकै भोलिपल्टबाट आफ्ना समर्थकहरूलाई उनले माइतीघरमा प्रदर्शनमा उतारे। छानबिनमा तानिएको एकजना व्यक्तिका लागि आफ्नै समर्थकलाई प्रदर्शनमा उतार्नु कत्तिको न्यायोचित हुन्छ ? त्यो पनि सत्ताधारी सांसदकै लागि।

त्यस्तै, केही दिनअघि मात्रै प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोस्ट्रमबाट दिएको अभिव्यक्तिविरुद्ध जेनजी युवाहरू भारतीय दूतावासअगाडि प्रदर्शनमा जुटे। त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्‍यो। पक्राउ परेर हिरासतमा पुगेका युवाहरूलाई पूर्वगृहमन्त्री गुरुङले हिरासतमै पुगेर थर्काए। धम्की दिए। चेतावनीको भाषा प्रयोग गरे। हिरासतमा बसेका युवाहरूका अनुसार उनीहरूलाई गुरुङले ‘यो अन्तिम चान्स हो, यसपछि सरकारविरुद्ध नबोल्नु’ भनेका थिए।

हिजो मात्रै टिकटकमा नेपाली ब्रो नामका व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका समाचारहरू सार्वजनिक भए। उक्त प्रकरणमा समेत पूर्वगृहमन्त्री गुरुङले प्रहरी कार्यालय पुगेर छानबिन प्रभावित पार्ने काम गरेको चर्चा छ।

त्यसअघि गुरुङ आफ्नै सचिवालयका कारणले विवादित बने। गृहमन्त्रीबाट राजीनामा दिए पनि उनको पूर्ववत् सचिवालयले गृहमन्त्रालय चलाइरहेको समाचार आए। जेम्स कार्की लगायतको टिमले कर्मचारीलाई हप्काईदप्काई गरेको आरोपहरू लागे। सुकुमवासी बस्ती भत्काउने क्रममा बल प्रयोग उनकै सचिवालयमार्फत भएको भनियो।

उनै विवादित गुरुङ फेरि गृहमन्त्रालयको चाबी प्राप्तिको प्रयत्नमा छन्। के गुरुङ यी सबै घटनाहरूको बीच फेरि गृहमन्त्री बन्लान् ?

 हुण्डी कारोबार : १९ लाख ५२ हजारसहित एक जना पक्राउ

रसुवा । प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा ठूलो परिमाणमा नगदसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका–३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङ रहेका छन्। उनलाई पासाङ ल्हामु राजमार्गअन्तर्गत धुन्चे बजार क्षेत्रमा चेकजाँचका क्रममा पक्राउ गरिएको हो।

प्रहरीले स्याफ्रुवेशीतर्फबाट काठमाडौं आउँदै गरेको ना १ ज ४८०७ नम्बरको भाडाको सुमो गाडी रोकेर जाँच गरेको थियो। सो क्रममा गुरुङको साथ रहेको झोलाभित्र ठूलो मात्रामा नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक राजु शाहका अनुसार झोलाभित्र १ हजार, ५ सय र १०० रुपैयाँ दरका नोटसहित कुल १९ लाख ५२ हजार १०० रुपैयाँ बरामद भएको हो।

बरामद नगदसहित उनलाई नियन्त्रणमा लिएर हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत रसुवाबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीले स्रोत नखुलेको ठूलो रकमको कारोबारबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

‘म फेरि गृहमन्त्री भए भने फोटो खिच्ने,बधाई दिने काम नगरौँ’ – सुधन गुरुङ

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध हुने भनिएको सम्पत्ति छानबिनपछि सफाइ पाएर पुनः सरकारी जिम्मेवारीमा फर्किने आशा व्यक्त गरेका छन्।

आइतबार गोरखामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई फेरि गृहमन्त्रीको जिम्मेवारी दिइए छोटो समयमै उल्लेखनीय काम गरेर देखाउने दाबी गरे।

कार्यक्रममा बोल्दै उनले भने, ‘मलाई फेरि त्यो जिम्मेवारीमा इच्छाउनुहुन्छ, काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहालेँ भने पनि मलाई अलिकति समय दिनु। दुई महिनाजति समय दिनु।’

उनले मन्त्री बनेपछि औपचारिकता र भीडभाडमा समय खेर नफाल्ने बताउँदै मन्त्रालयको कामलाई प्रत्यक्ष रूपमा परिणाममुखी बनाउन केन्द्रित हुने बताए।

उनको भनाइमा, ‘त्यतिखेर फोटो खिच्ने, माला लगाउने, खादा लगाउने, बधाई दिने कार्यहरू नगरौँ। मन्त्रालय धाउने काम पनि नगरौँ।’

गुरुङले आफूलाई जिम्मेवारी दिइए दुई महिनाभित्र आवश्यक सुधारका कामहरू सुरु गर्ने र प्रशासनिक प्रणालीलाई व्यवस्थित गर्ने बताए।

उनले भने, ‘दुई महिना समय दिनुहोला, म त्यतिखेर सबै कुरा स्टाब्लिस गरिदिन्छु। त्यसपछि पनि भएन भने बाबु तिम्ले बोलेको कुरा भएन है भन्नुहोला।’

उनले आफूले आफ्नो राजनीतिक धरातल नबिर्सिएको र मतदाताको विश्वास तथा मतको सम्मान गर्दै अघि बढिरहेको उल्लेख गरे।

मलयालम अभिनेता सलीम कुमारको ५६ वर्षको उमेरमा निधन

एजेन्सी। मलयालम चलचित्र उद्योगका चर्चित अभिनेता तथा राष्ट्रिय पुरस्कार विजेता सलीम कुमार को ५६ वर्षको उमेरमा हृदयाघात (कार्डियाक अरेस्ट) का कारण निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार राति उनलाई अचानक स्वास्थ्य समस्या देखिएपछि केरलको कोच्चीस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

अभिनेता सलीम कुमारको पार्थिव शरीर आइतबार सार्वजनिक स्थलमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। सोही दिन उनको निवास क्षेत्रमै अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।

केरल सरकारले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै अन्त्येष्टिसम्बन्धी सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ। सरकारले उनलाई मलयालम चलचित्र उद्योगका महत्वपूर्ण कलाकारमध्ये एकका रूपमा स्मरण गरेको छ।

सलीम कुमारले आफ्नो करियर हास्य कलाकारको रूपमा सुरु गरेका थिए। सुरुका दिनमा उनी टेलिभिजन तथा चलचित्रका कमेडी भूमिकामार्फत दर्शकमाझ लोकप्रिय बने।

पछि उनले आफूलाई गम्भीर र सशक्त चरित्र अभिनेताका रूपमा स्थापित गरे। तीन दशकभन्दा लामो करियरमा उनले ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। मलयालम चलचित्रसँगै उनले केही तमिल तथा ओडिया चलचित्रमा पनि अभिनय गरेका थिए।

सन् २०१० मा प्रदर्शन भएको चलचित्र ‘आदामिन्टे मकन अबू’ मा ‘अबू’ पात्रको भूमिकाका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार (नेसनल फिल्म अवार्ड) प्राप्त गरेका थिए। सोही भूमिकाका लागि उनलाई केरल राज्य चलचित्र पुरस्कारबाट पनि सम्मानित गरिएको थियो।

गत वर्ष पनि उनी चलचित्र ‘आजादी’ र ‘भा भा बा’ मा देखिएका थिए। उमेर र स्वास्थ्य समस्याबीच पनि उनी फिल्म क्षेत्रमा सक्रिय रहँदै आएका थिए।

सलीम कुमारका परिवारमा पत्नी सुनीता र दुई छोरा चन्दु सलीम कुमार र आरोमल सलीम कुमार रहेका छन्। उनका छोरा चन्दु पनि अभिनय क्षेत्रमा सक्रिय छन्।

उनको निधनसँगै मलयालम चलचित्र उद्योगले एक अनुभवी र बहुआयामिक कलाकार गुमाएको छ।

शिल्पाले फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकारेपछि…

एजेन्सी। भारतीय टेलिभिजन सिरियल ‘भाभी जी घर पर है’ की चर्चित अभिनेत्री शिल्पा शिन्देले दिएको एक पुरानो बयान फेरि सार्वजनिक भएपछि ठूलो विवाद उत्पन्न भएको छ।

भारतीय मिडियाका अनुसार अखिल भारतीय सिने वर्कर्स एसोसिएसनले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग घटनामा हस्तक्षेप गर्दै कानुनी कारबाहीको माग गरेको छ।

विवादको मूल कारण शिल्पा शिन्देले कमेडियन भारती सिंहसँगको एक अन्तर्वार्तामा दिएको टिप्पणी हो। उक्त अन्तर्वार्तामा उनले टेलिभिजन शो ‘भाभीजी घर पर हैं’ का निर्माताविरुद्ध आफूले यौन उत्पीडनसम्बन्धी झुटो मुद्दा दर्ता गराएको स्वीकार गरेको दाबी गरिएको छ। साथै उनले त्यो मुद्दा मुख्यतः सम्झौता (कन्ट्र्याक्ट) सम्बन्धी विवादसँग जोडिएको पनि बताएकी थिइन्।

यो अभिव्यक्तिपछि विभिन्न कलाकार संघ र सामाजिक संगठनहरूले कडा प्रतिक्रिया जनाएका छन्। अखिल भारतीय सिने वर्कर्स एसोसिएसनले जारी गरेको विज्ञप्तिमा यौन उत्पीडनजस्ता गम्भीर आरोपलाई झुटो रूपमा प्रयोग गर्नु आपत्तिजनक रहेको उल्लेख छ।

संगठनका अनुसार यस्ता घटनाले वास्तविक पीडितहरूको आवाज कमजोर बनाउने र न्याय प्रक्रियामा गम्भीर असर पार्ने खतरा हुन्छ।

सामाजिक सञ्जालमा आलोचना बढेपछि शिल्पा शिन्देले इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै आलोचकहरूलाई लक्षित गर्दै ‘डाह गर्नेहरू डाह गरिरहून्’ भन्ने खालको टिप्पणी गरेकी छिन्, जसले विवादलाई अझ चर्काएको छ।

शिल्पा शिन्दे सन् २०१५ मा प्रसारित लोकप्रिय सिरियल ‘भाभीजी घर पर हैं’ मा ‘अंगुरी भाभी’को भूमिकाबाट चर्चामा आएकी थिइन्। तर एक वर्षपछि उनले शो छोड्दै निर्माताविरुद्ध गम्भीर आरोप लगाउँदै कानुनी विवादमा उत्रिएकी थिइन्।

हालैको पोडकास्टमा उनले दिएको अभिव्यक्तिमा भने उनले आफूलाई त्यसबेला परिस्थितिजन्य कारणले मुद्दा दर्ता गर्न बाध्य भएको दाबी गरेकी छन्। उनले भनेकी छन् कि सम्झौता विवाद समाधानका लागि कानुनी बाटो रोजिएको थियो र पछि आपसी समझदारीमा विवाद समाधान गरिएको थियो।

यसैबीच, कलाकार संघहरूले यस्ता संवेदनशील विषयमा जिम्मेवार अभिव्यक्ति दिनुपर्ने भन्दै कडा निगरानीको माग गरेका छन्। विवाद अझै चर्किने संकेत देखिएको छ।

बालेनलक्षित साम्पाङको टिप्पणी, ‘यु आर माई ट्रु…’(भिडियो)

काठमाडौं । यसअघि पटक पटक प्रधानमन्त्री बालेन्द्र शाहले हर्क साम्पाङलाई लक्षित गर्दै dear hark you are my true love भन्दै लेखेका थिए।  आज साम्पाङले प्रधानमन्त्री शाहलाई प्रिय बालेन ‘You are my true…’ भन्दै भारतसँगको सीमा विवादबारे प्रमाण लिएर आउन चुनौती दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले लेखेका छन्, “प्रिय बालेन… भोलिको बैठकमा नेपालले भारतको सिमाना कहाँ कहाँ मिचेको रहेछ सोको प्रमाण लिएर आऊ है ! You are my true…” भन्ने अभिव्यक्ति दिएका छन् ।

उनको यो भनाइ हालै सीमा विवाद र राष्ट्रियताको विषयमा भइरहेको बहससँग जोडेर आएको देखिन्छ। साम्पाङले पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक विषयमा कडा टिप्पणी गर्दै आएका छन्।

यसअघि पनि साम्पाङले विभिन्न राजनीतिक दल र नेताहरूलाई लक्षित गर्दै विवादास्पद टिप्पणी गर्दै आएका थिए। उनको पछिल्लो अभिव्यक्तिले पुनः राजनीतिक वृत्तमा चर्चा पाएको छ।

मध्यपूर्व तनावको असर : ओपेक प्लसले बढाउँदै तेल उत्पादन

एजेन्सी। विश्व ऊर्जा बजार फेरि एक पटक ठूलो दबाबमा परेको छ। अमेरिका–इरानबीचको युद्धजन्य तनावका कारण आपूर्ति प्रणाली प्रभावित भइरहेका बेला प्रमुख तेल उत्पादक राष्ट्रहरूको समूह ओपेक प्लसले उत्पादन लक्ष्य बढाउने तयारी गरेको छ।

स्रोतहरूका अनुसार समूहले आइतबार बस्ने बैठकमा लगातार चौथो महिनासम्म उत्पादन लक्ष्य वृद्धि गर्ने निर्णय गर्न सक्ने सम्भावना देखिएको छ।

अमेरिका-इरान तनावपछि सबैभन्दा ठूलो प्रभाव हर्मुज जलडमरूमा परेको बताइएको छ। विश्वको ठूलो हिस्सा कच्चा तेल यही समुद्री मार्ग हुँदै आपूर्ति हुने भएकाले यहाँको अवरोधले अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष असर पारेको छ।

विश्लेषकहरूका अनुसार युद्धका कारण तेल ढुवानीमा ढिलाइ, जोखिम वृद्धि र बीमा लागत बढेसँगै धेरै देशमा आपूर्ति असन्तुलन देखिन थालेको छ। यसले विश्वव्यापी रूपमा ‘ऊर्जा सुरक्षा संकट’को अवस्था निम्त्याएको छ।

ओपेक प्लसले पछिल्ला महिनाहरूमा उत्पादन कोटा क्रमशः बढाउँदै आएको छ। स्रोतहरूका अनुसार समूहका सात प्रमुख सदस्य साउदी अरब, इराक, कुवेत, अल्जेरिया, काजाकस्तान, रुस र ओमानले अप्रिलदेखि जुनसम्म दैनिक करिब ६ लाख ब्यारेल उत्पादन वृद्धि गरिसकेका छन्।

आइतबारको बैठकमा जुलाईदेखि लागू हुने गरी दैनिक करिब १ लाख ८८ हजार ब्यारेल थप उत्पादन लक्ष्य बढाउने प्रस्ताव अघि सारिने सम्भावना छ। यो वृद्धि अघिल्लो महिनाहरूमा गरिएको समायोजनकै निरन्तरता भएको बताइएको छ।

तर अन्तिम निर्णय भने अझै अनिश्चित रहेको स्रोतहरूले स्पष्ट पारेका छन्।

ओपेकको तथ्यांकअनुसार समूहको उत्पादन संरचनामा उल्लेखनीय गिरावट देखिएको छ। खाडी देशहरूले निर्यातमा कटौती गरेपछि वास्तविक उत्पादन घटेको हो।

फेब्रुअरीमा दैनिक ४ करोड २७ लाख ७० हजार ब्यारेल रहेको उत्पादन अप्रिलमा घटेर करिब ३ करोड ३१ लाख ९० हजार ब्यारेलमा पुगेको उल्लेख छ। यसले बजारमा आपूर्तिको दबाब अझ बढाएको छ।

विशेषज्ञहरूका अनुसार उत्पादन कोटा बढाइए पनि व्यवहारिक रूपमा सबै सदस्य देशले त्यो लक्ष्य पूरा गर्न नसक्दा बजारमा अस्थिरता कायम रहन सक्छ।

झण्डै ६० वर्षपछि संयुक्त अरब इमिरेट्स (यूएई) ओपेकबाट बाहिरिएपछि समूहको संरचना र शक्ति सन्तुलनमा परिवर्तन आएको छ। यसले ओपेक प्लसलाई थप चुनौतीपूर्ण अवस्थामा पुर्‍याएको विश्लेषकहरूको भनाइ छ।

उत्पादन नीतिमा एकरूपता कायम गर्न नसक्नु, सदस्य देशहरूको आन्तरिक आर्थिक दबाब र भू–राजनीतिक तनावले समूहभित्र अस्थिरता बढाएको देखिन्छ।

आइतबारनै ओपेक प्लसको पूर्ण मन्त्रीस्तरीय बैठक पनि तय गरिएको छ। यद्यपि स्रोतहरूका अनुसार उक्त बैठकले ठूलो नीतिगत परिवर्तन गर्ने सम्भावना कम छ।

विशेषज्ञहरूका अनुसार वर्तमान अवस्थामा ओपेक प्लसले स्थिर मूल्य र आपूर्ति सन्तुलनबीच कठिन सन्तुलन कायम गर्न खोजिरहेको छ। एकातिर विश्व बजारमा बढ्दो माग छ भने अर्कोतर्फ भू–राजनीतिक तनावले आपूर्ति जोखिम उच्च बनाएको छ।

अमेरिका–इरान युद्ध र मध्यपूर्वमा देखिएको अस्थिरताले विश्व ऊर्जा बजारलाई नयाँ दबाबमा पारेको छ। ओपेक प्लसले उत्पादन वृद्धि गर्ने प्रयास गरे पनि आपूर्ति प्रणालीमा स्थिरता कायम गर्न अझै चुनौती रहने देखिन्छ।

विशेषज्ञहरूका अनुसार आगामी महिनाहरूमा तेल मूल्य, आपूर्ति सुरक्षा र भू-राजनीतिक अवस्था अझै अनिश्चित रहने सम्भावना छ, जसले विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।

ग्रीस र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने लक्ष्मी र प्रिया पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै ग्रीस र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-३ बस्ने ३१ वर्षीया लक्ष्मी थापा कार्की र बुढानिलकण्ठ नगरपालिका–८ बस्ने ३५ वर्षीया प्रिया बानिया रहेका छन्।

प्रहरीका अनुसार लक्ष्मी थापा कार्कीले ग्रीस पठाइदिन्छु भन्दै एक जना पीडितबाट ११ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकी थिइन्। त्यस्तै प्रिया बानियाले जापान पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख रुपैयाँ लिई ठगी गरेको उजुरी परेको थियो।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले लक्ष्मीलाई काठमाडौं महानगरपालिका-३ बाट र प्रियालाई बुढानिलकण्ठबाट पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

रास्वपा मकवानपुरको सभापतिमा पाठक

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको सभापतिमा सञ्जीव पाठक सर्वसम्मत चयन भएका छन्। शनिबार हेटौंडामा सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले यसअघि सचिव रहेका मनहरी गाउँपालिकाका पाठकलाई सभापतिमा चयन गरेको हो।

अधिवेशनले पाठकको नेतृत्वमा ५ वर्षे कार्यकालका लागि ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। निर्वाचित अन्य पदाधिकारीहरूमा उपसभापति टाकाराज थापा (सुरेश), सचिव विशभ अधिकारी, सहसचिव शान्ति थापा विडारी रहेका छन्। त्यसैगरी कार्यसमिति सदस्यहरूमा सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, हलिया शेख, हरिहर खतिवडा र देवकुमार अर्याल चयन भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको जिल्ला सभापतिमा रमेश रायमाझी निर्वाचित

मन्थली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछाप जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन भएको छ। जिल्ला अधिवेशनबाट रमेश रायमाझी सभापतिमा निर्वाचित भएका छन्।

निर्वाचित जिल्ला कार्यसमितिको पूर्ण विवरण यसप्रकार छ:

जिल्ला सभापति: रमेश रायमाझी

जिल्ला उपसभापति: मोहन कार्की

जिल्ला सचिव: दिल बहादुर थापा (दिनेश)

जिल्ला सहसचिव: टेक बहादुर सुनुवार

जिल्ला कोषाध्यक्ष: समीक्षा श्रेष्ठ

जिल्ला सदस्यहरू:
अर्जुन श्रेष्ठ, लक्ष्मण बस्नेत, कमल कार्की, ईश्वरी लामिछाने, केशव रोक्का, चन्द्रा खड्का

रास्वपा रामेछापले नवनिर्वाचित टोलीले पार्टी सङ्गठन विस्तार, युवा परिचालन र जिल्लाको विकासका मुद्दालाई प्राथमिकतामा राख्ने जनाएको छ। नेतृत्वमा रहेका रायमाझीले सबै सदस्यहरूको सहकार्यमा पार्टीलाई प्रभावकारी रुपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेपलान्चोकको जिल्ला सभापतिमा प्रबिन ढकाल निर्वाचित

काभ्रेपलान्चोक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्लाको नयाँ नेतृत्व चयन भएको छ। जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा प्रबिन ढकाल सभापतिमा निर्वाचित भएका छन्।

यस्तै, पार्टीको उपसभापतिमा पुन्यमाता घिमिरे, सचिवमा जियन सापकोटा र सहसचिवमा प्रकाश तिमल्सिना निर्वाचित भएका छन्। नवनिर्वाचित पदाधिकारीहरूले पार्टी सुदृढीकरण, युवा सहभागिता वृद्धि र जिल्लाको विकास निर्माणमा जोड दिने प्रतिबद्धता जनाएका छन्।

रास्वपा काभ्रेले स्थानीय तहको जनआकांक्षा अनुसार पारदर्शी र समावेशी नेतृत्व चयन गरेको जनाएको छ। नयाँ नेतृत्वले आगामी दिनमा जिल्लाका विभिन्न कार्यक्रम तथा सङ्गठन विस्तारमा केन्द्रित हुने जनाएको छ।

कस्तो पङ्गु अर्थमन्त्री : हर्क साम्पाङ(भिडियो)

काठमाडाैं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेविरुद्ध तीखो प्रहार गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अर्थमन्त्री वाग्लेलाई ‘पंगु अर्थमन्त्री’ समेत भनेका छन्।

पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै उनले अर्थमन्त्री वाग्लेमाथि कडा आक्रोश व्यक्त गरेका हुन्। साम्पाङले लेखेका छन्, ‘कस्तो पंगु डाक्टर अर्थमन्त्री रैछ, पेट्रोलियमको मूल्य बढाउने।’

हर्क साम्पाङ प्रायः सामाजिक सञ्जालमार्फत सरकार र नेताहरूविरुद्ध कटु टिप्पणी गर्ने गर्छन्। यसपटक उनले अर्थमन्त्री वाग्लेको नाम लिँदै चर्को शैलीमा आलोचना गरेका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारणको जीवनस्तरमा थप दबाब पर्ने भन्दै उनले सरकारको नीतिप्रति असन्तुष्टि जनाएका छन्। यो आलोचनाले अर्थमन्त्री वाग्लेमाथि दबाब बढ्न सक्ने देखिन्छ।

समुद्री पूर्वानुमानमा चीनको एआई मोडेल सार्वजनिक

काठमाडौं । चीनका वैज्ञानिकहरूले समुद्री पूर्वानुमान क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल सार्वजनिक गरेका छन्।

यो प्रणालीले आँधी, अत्यधिक वर्षा, समुद्री तरंग तथा समुद्री बरफ जस्ता जटिल घटनाहरूको पूर्वानुमान गर्न सक्ने बताइएको छ।

चीनको शान्दोङ प्रान्तस्थित छिङदाओमा जारी चौथो चीन डिजिटल पृथ्वी सम्मेलनमा शनिबार उक्त एआई मोडेलको औपचारिक उद्घाटन गरिएको हो।

यो प्रणाली चीनको विज्ञान प्रतिष्ठानअन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थानले विकास गरेको हो। संस्थानका अध्यक्ष वाङ फानका अनुसार नयाँ संस्करणले सामान्य मौसम पूर्वानुमानभन्दा अघि बढेर जटिल समुद्री घटनाको बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको छ।

नयाँ एआई प्रणालीले वायुमण्डलीय तथा समुद्री तथ्याङ्क, उपग्रहबाट प्राप्त बादलका तस्वीरहरू र ऐतिहासिक आँधी मार्गहरूको विश्लेषण गरी पूर्वानुमान तयार गर्छ। यसले आँधीको अचानक दिशा परिवर्तन र तीव्र रूपमा शक्तिशाली बन्ने प्रक्रिया जस्ता जटिल अवस्थाको पनि पूर्वानुमान गर्न सक्ने बताइएको छ।

विशेषज्ञहरूका अनुसार यो प्रविधिले तटीय क्षेत्रका बासिन्दालाई समयमै चेतावनी दिन सक्ने भएकाले ठूलो जनधन क्षति रोक्न मद्दत पुग्नेछ।

यस प्रणालीले समुद्रभित्र उत्पन्न हुने शक्तिशाली तर अदृश्य तरंगहरूको पनि पहिचान गर्न सक्छ, जसले तेल प्लेटफर्म तथा समुद्री संरचनामा जोखिम निम्त्याउन सक्छन्। यसले यस्ता तरंगहरूको ३० दिनसम्मको विकासक्रम र सात दिनसम्मको गति तथा उचाइसम्बन्धी पूर्वानुमान गर्न सक्ने उल्लेख गरिएको छ।

अन्तर्राष्ट्रिय समुद्री बरफ पूर्वानुमान सञ्जालद्वारा गरिएको मूल्याङ्कनमा यो प्रणालीले सन् २०२५ को सेप्टेम्बर महिनाको आर्कटिक समुद्री बरफ क्षेत्रफल पूर्वानुमानमा विश्वका अन्य मोडेलहरूलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको बताइएको छ।

यो एआई मोडेलले करिब ३ किलोमिटर उच्च रिजोल्युसनमा मासिक स्तरको समुद्री बरफ पूर्वानुमान गर्न सक्ने क्षमता राख्छ, जुन आर्कटिक जलयात्रा, जलवायु अध्ययन र ध्रुवीय नेभिगेसन सुरक्षाका लागि महत्वपूर्ण मानिन्छ।

अनुसन्धानकर्ताहरूका अनुसार प्रणालीले अवलोकन तथ्याङ्क, भौतिक विज्ञानका सिद्धान्त र कृत्रिम बुद्धिमत्ताको तर्क क्षमतालाई संयोजन गरेर अझ छिटो र सटीक पूर्वानुमान सेवा दिनेछ।

भविष्यमा यसलाई जलवायु तथा समुद्री पारिस्थितिकीय अध्ययनसँग जोडेर समुद्री बुद्धिमत्ता मञ्चको रूपमा विकास गर्ने योजना रहेको वैज्ञानिकहरूले बताएका छन्।

मिल्न छोड्यो प्रधानमन्त्री बालेन र परराष्ट्रमन्त्री खनालको बोली [भिडियो]

काठमाडौं। प्रधानमन्त्री बालेन र परराष्ट्रमन्त्री शिशिर खनालको बोलीमा तालमेल मिल्न छाडेको छ ।

बालेनले १७ जेठमा भनेका थिए– नेपाल–भारत सीमा विवाद सुल्झाउन इङ्ल्यान्डको सरोकार हुनुपर्छ । यसको अर्थ हो– इङ्ल्यान्डको भूमिका नेपाल–भारत सीमा समस्या समाधानमा हुनुपर्छ ।  प्रधानमन्त्री बालेनले बेलायतलाई इङ्ल्यान्ड भनेका हुन् ।

तर, उनकै सरकारका परराष्ट्रमन्त्री शिखिर खनालले भारतको दिल्ली पुगेर भने– सीमाको विषयमा बेलायतको मध्यस्तता खोजेका होइनौँ । यसले देखाउँछ कि एकै विषयमा सरकारको दुई फरक धारणा छ ।

कूटनीतिक अभ्यासमा यस्तो असंगत अभिव्यक्तिलाई अपरिपक्व तथा असंवेदनशील संकेतका रूपमा लिइन्छ, किनभने यसले अन्तर्राष्ट्रिय तहमा राज्यको नीति र विश्वसनीयतामाथि प्रश्न उठाउने जोखिम रहन्छ ।

 

भक्तपुर रास्वपाको सभापतिमा रामेश्वर बस्नेत

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको जिल्ला सभापतिमा रामेश्वर बस्नेत निर्वाचित भएका छन्।

पार्टीको जिल्ला अधिवेशनबाट बस्नेत सभापतिमा चयन भएका हुन्। उनी नेतृत्वमा चयन भएसँगै भक्तपुरमा रास्वपाको संगठन विस्तार र सुदृढीकरणलाई थप गति दिने अपेक्षा गरिएको छ।

नवनिर्वाचित नेतृत्वले जिल्लामा पार्टी गतिविधि, संगठन निर्माण तथा जनसरोकारका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

धुर्मुस नेपाल फर्किएपछि…कुञ्जनाले भावुक हुँदै यस्तो लेखिन्

काठमाडौं। चर्चित कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ केही महिनाअघि पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’सँगै अमेरिका गएका थिए।

तर हाल उनी नेपाल फर्किएको जानकारी कुञ्जनाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।

अमेरिका गएपछि दम्पतीबारे विभिन्न टीकाटिप्पणी र प्रश्नहरू उठिरहेका थिए। विशेषगरी ‘नेपाल छोडेर भागेको’ भन्ने टिप्पणीहरू सामाजिक सञ्जालमा फैलिँदै गएपछि कुञ्जनाले ती आरोपहरूको खण्डन गर्दै भावुक अभिव्यक्ति दिएकी हुन्।

आइतबार उनले एक तस्बिर सार्वजनिक गर्दै आफूहरू देश छोडेर भागेको नभई परिस्थितिजन्य कारणले कठिन समयबाट गुज्रिएको बताएकी छन्। उनले लेखेकी छन्, ‘भागेको होइन, पलपल मर्न नसकेर, सास फेर्न गाह्रो भएर निसास्सिएर बाँच्छ सकिनँ। मरेर न्याय पाइँदैन, जसरी पनि जिउनुपर्छ भनेर सबैसँग चित्त दुखेर हिँडेको।’

कुञ्जनाले थप लेख्दै आफ्नो श्रीमान् न्याय खोज्नका लागि स्वदेश फर्किएको उल्लेख गरेकी छन्। उनले सामाजिक सञ्जालमा फैलिएका आलोचना र आरोपप्रति आपत्ति जनाउँदै समर्थन र साथ दिन आग्रह पनि गरेकी छन्।

उनले लेखेकी छन्, ‘मेरो धुर्मुस न्याय खोज्न आफ्नो देश फर्केको छ, हामीलाई खेद्न छोडेर उसलाई साथ दिनुहोस्, बिन्ती।’

अविनाश बस्नेत रास्वपा सिन्धुलीको सभापतिमा

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको प्रथम जिल्ला अधिवेशनबाट अविनाश बस्नेत जिल्ला सभापतिमा निर्वाचित भएका छन्। अधिवेशनमा सहमति जुट्न नसकेपछि सभापतिसहित पदाधिकारी र केही सदस्य पदका लागि निर्वाचन गरिएको थियो।

शनिबार सम्पन्न मतदानको अन्तिम मतपरिणामअनुसार बस्नेतले १८१ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी वृखबहादुर बम्जन (अशोक)ले ८८ मत प्राप्त गरे भने अर्का उम्मेदवार कर्णबहादुर कार्कीले ४ मत पाए।

उपसभापति पदमा रामचन्द्र अधिकारी १०३ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी सागर खत्रीले ९२ मत तथा दिलीपजंग थापाले ६६ मत प्राप्त गरेका थिए।

सचिव पदमा लालप्रसाद देवकोटा (एलपी) १८६ मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी रोमबहादुर देवकोटा (सुवास)ले ७१ मत प्राप्त गरे। त्यसैगरी, सहसचिव पदमा दिनेशप्रसाद सापकोटा (मोटु) १३० मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी रमेश खत्रीले ११६ मत प्राप्त गरे।

खुला सदस्यतर्फ दिवस पहाडी तथा दलित सदस्यतर्फ कुमार रसाइली निर्वाचित भएका छन्। महिला सदस्यमा सूर्यकुमारी गौतम र सुनिता गजुरेल निर्विरोध निर्वाचित भएका थिए।

रास्वपाको विधानअनुसार सभापति पदमा दोस्रो स्थान हासिल गरेका वृखबहादुर बम्जन जिल्ला समिति सदस्य बनेका छन्। बाँकी दुई सदस्य भने जिल्ला समितिको पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ।

त्यसैगरी, क्षेत्र नम्बर १ को संयोजकमा मनिष कार्की तथा क्षेत्र नम्बर २ को संयोजकमा कैलाश थापा निर्वाचित भएका छन्।

रास्वपा काठमाडौं सभापतिमा राजा शाक्य निर्वाचित

शनिबार सम्पन्न जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा शाक्यले २५१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुरेश सापकोटाले १८२ मत प्राप्त गरेका थिए।

त्यसैगरी, उपसभापतिमा रविन्द्र गौतम र सचिवमा सन्तमान महर्जन निर्वाचित भएका छन्। नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास सफल हुन नसकेपछि मतदान प्रक्रियामार्फत नयाँ कार्यसमिति चयन गरिएको हो।

नवनिर्वाचित नेतृत्वले काठमाडौं जिल्लामा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनतासँगको सम्बन्ध विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। रास्वपाले देशभर जिल्ला अधिवेशन सञ्चालन गरिरहेका बेला काठमाडौंको नेतृत्व चयनलाई पार्टीको संगठनात्मक विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ।

बीवाईडी गाडी आयातबारे साइमेक्स इंक भन्छ – ‘कर छल्न खोजेको हैन’

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका विद्युतीय सवारीसाधनबारे विभिन्न सञ्चार माध्यम र सार्वजनिक वृत्तमा प्रश्न तथा टिप्पणीहरू उठेपछि बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

कम्पनीले कानुनको पूर्ण पालना, पारदर्शिता र नैतिक व्यवसायिक अभ्यासप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै आयातसम्बन्धी तथ्यगत विवरण सार्वजनिक गरेको छ। साइमेक्स इंकका अनुसार सबै सवारीसाधनहरू प्रचलित कानुनी प्रक्रिया पूरा गरेर मात्र नेपाल भित्र्याइएको हो।

कम्पनीले मुस्ताङको कोराला भन्सार र रसुवा भन्सारमार्फत गाडीहरू जाँचपास भएर आएको स्पष्ट पारेको छ। कोराला भन्सारमार्फत मे २२ देखि मे २७ सम्म चीनबाट निकासी घोषणा भई नेपाल भन्सारबाट जाँचपास भएका ६४९ वटा गाडी आयात भएको कम्पनीले जनाएको छ, जसमा एट्टो १ र एट्टो २ मोडलका सवारीसाधनहरू रहेका छन्।

त्यस्तै रसुवा भन्सारमार्फत मे ६ देखि मे २५ सम्म चीनतर्फको भन्सार घोषणा र मे १८ देखि मे २७ सम्म नेपालतर्फ जाँचपास प्रक्रिया पूरा गरी एट्टो १, एट्टो २, एट्टो ३ र सिलियन ७ मोडलका गरी ४७२ वटा गाडी आयात गरिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार यी दुवै भन्सारबाहेकका २२६ वटा गाडी चीनतर्फको क्षेत्रमा आइपुगेका भए पनि तिनको नेपाल भन्सार जाँचपास प्रक्रिया हालसम्म सुरु वा सम्पन्न भएको छैन।

साइमेक्स इंकले यी सबै आयात कानुन, भन्सार नियम र स्थापित प्रक्रिया अनुसार नै भएको दाबी गर्दै कुनै पनि विशेष सुविधा, प्राथमिकता वा अनधिकृत प्रक्रिया प्रयोग नगरिएको स्पष्ट पारेको छ।

कम्पनीका अनुसार ग्राहकको पूर्व बुकिङ र बजार मागअनुसार तथा अन्तर्राष्ट्रिय आपूर्ति तालिका र ढुवानी व्यवस्थापनलाई ध्यानमा राखेर गाडी आयात गरिएको हो।

कम्पनीले कर परिवर्तनको लाभ उठाउने वा सरकारी निकायसँग मिलेमतो गरेर अनुचित फाइदा लिने भन्ने आरोपलाई पूर्ण रूपमा असत्य र निराधार भनेको छ।

साइमेक्स इंकले कुनै पनि सरकारी छानबिन वा अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने बताउँदै आवश्यक सबै आयात, भन्सार, ढुवानी र वित्तीय कागजातहरू उपलब्ध गराउन तयार रहेको जनाएको छ।

कम्पनीले तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्दै पुष्टि नभएका अनुमानका आधारमा भ्रम नफैलाउन सञ्चारमाध्यम र सरोकारवालालाई अनुरोध गरेको छ।

नेपालमा विद्युतीय सवारीसाधन प्रवर्द्धनले वातावरणीय लक्ष्य र इन्धन आयात घटाउन महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै कम्पनीले यस क्षेत्रमा विश्वास कायम राख्न तथ्यमा आधारित छलफल आवश्यक रहेको पनि जनाएको छ।

रास्वपा मोरङको नेतृत्व कँडेलको काँधमा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको प्रथम जिल्ला अधिवेशनबाट भरतराज कँडेल जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

तदर्थ समिति सभापतिको जिम्मेवारी सम्हालिरहेका कँडेलले प्रतिस्पर्धी कोषराज खनाल र सागर फुयाँललाई पराजित गर्दै सभापतिमा विजय हासिल गरेका हुन्। सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरिएको थियो।

अधिवेशनबाट बिमला बस्नेत उपसभापति, दिवस नेपाल सचिव तथा सिर्जना गिरी आचार्य सहसचिवमा निर्वाचित भएका छन्। उपसभापति पदमा बस्नेत निर्विरोध निर्वाचित भएकी थिइन् भने सचिव पदका लागि दिवस नेपाल, सुरेश कुमार श्रेष्ठ र कुमार फुयाँलबीच प्रतिस्पर्धा भएको थियो।

नवनिर्वाचित सभापति कँडेल मोरङको उर्लाबारी निवासी हुन्। उनी रास्वपा मोरङका संस्थापक सभापति समेत हुन् र करिब डेढ वर्षअघि सम्पन्न जिल्ला भेलाबाट पनि सभापतिमा निर्वाचित भएका थिए।

शिक्षण पेसाबाट राजनीतिमा प्रवेश गरेका कँडेलले उर्लाबारीका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्यापन गर्नुका साथै काउन्सिलरका रूपमा समेत काम गरिसकेका छन्।

त्यसैगरी, सचिवमा निर्वाचित दिवस नेपाल यसअघि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए। नेपाली कांग्रेस विराटनगर महानगर समितिका उपसचिवसमेत रहेका नेपाल ‘जेन्जी आन्दोलन’पछि रास्वपामा आबद्ध भएका हुन्।

सहसचिव पदमा निर्वाचित सिर्जना गिरी आचार्यले पनि यसअघि पार्टीको जिल्ला नेतृत्वमा भूमिका निर्वाह गरिसकेकी छन्। अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले मोरङमा पार्टी संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकतामा राख्ने जनाएको छ।

ओहायोको टोलेडोमा सामुदायिक उत्सव नजिकै गोलीकाण्ड, १२ जना घाइते

एजेन्सी। अमेरिकाको ओहायो राज्यस्थित टोलेडो सहरमा आयोजित एक सामुदायिक उत्सव नजिकै गोली चल्दा कम्तीमा १२ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना वार्षिक रूपमा आयोजना हुँदै आएको ऐतिहासिक क्षेत्रको सामुदायिक उत्सव नजिकै भएको हो।

उक्त उत्सवमा प्रत्यक्ष सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा स्थानीय ऐतिहासिक घरहरूको अवलोकनजस्ता गतिविधि भइरहेका बेला गोली चलेपछि सर्वसाधारणबीच भागदौड मच्चिएको थियो।

टोलेडो प्रहरी विभागका उपप्रमुखले प्रारम्भिक अनुसन्धानका आधारमा कम्तीमा दुई जना व्यक्तिबीच आपसमा गोली हानाहान भएको हुनसक्ने आशंका गरिएको जानकारी दिएका छन्। घटनापछि दुवै संदिग्धको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार अचानक गोलीको आवाज आएपछि उत्सवमा सहभागी मानिसहरू ज्यान जोगाउन चारैतिर भागेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा मानिसहरू भागदौड गरिरहेको र आपत्कालीन सेवाका कर्मचारीहरूले घाइतेहरूको उद्धार गरिरहेको देखिन्छ।

एक प्रत्यक्षदर्शीले आफू साथीहरूसँग सांगीतिक कार्यक्रम हेरिरहेका बेला लगातार गोली चलेको आवाज सुनेको बताए। उनका अनुसार गोली चलेपछि धेरै जना भुइँमा लडेर आफूलाई सुरक्षित राख्ने प्रयास गरेका थिए। उनले नजिकै एउटा हतियार फालिएको अवस्थामा देखिएको पनि उल्लेख गरेका छन्।

घटनापछि उत्सवस्थलमा सुरक्षाका लागि खटिएका प्रहरी तत्कालै घटनास्थल पुगेका थिए। ओहायोका गभर्नरले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्ता सामुदायिक उत्सवहरू परिवार र बालबालिकाका लागि सुरक्षित हुनुपर्ने बताएका छन्।

उनले हिंसात्मक घटनाले समुदायमा डर र असुरक्षा फैलाउने उल्लेख गर्दै निष्पक्ष र छिटो अनुसन्धानको अपेक्षा गरेका छन्।

प्रहरीले हालसम्म कसैलाई पक्राउ नगरेको र घटनाको कारण तथा संलग्न व्यक्तिहरूको पहिचानबारे अनुसन्धान जारी रहेको जनाएको छ।

रास्वपा रोल्पाको सभापतिमा बलाराम थापा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाको प्रथम जिल्ला अधिवेशनले बालाराम थापाको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।

अधिवेशनबाट भूपेन्द्र सिंह वली उपसभापति, हिरा बहादुर घर्तीमगर सचिव, बालाराम डाँगी सहसचिव तथा पिपला चन्द सेन कोषाध्यक्ष चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा धर्मराज भण्डारी, महेश कुमार शर्मा, मुना डाँगी, हिरा खड्का र सन्दीप थापा मगर चयन भएका छन्। दलित महिला सदस्य भने पछि मनोनयनमार्फत थप्ने निर्णय गरिएको रास्वपाले जनाएको छ।

 

किरण खनाल रास्वपा दाङको सभापति निर्वाचित

तुल्सीपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ जिल्लाको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

अधिवेशनबाट किरण खनाल सभापतिमा निर्वाचित भएका छन् । त्यसैगरी उपसभापतिमा निराजन थापा, सचिवमा असिम भुसाल तथा सहसचिवमा प्रमिला रोका मगर निर्वाचित भएका छन् ।

नवगठित कार्यसमितिका सदस्यहरूमा होताराम आचार्य, रविन्द्र केसी, प्रकाश चौधरी, पवित्रा बिक, प्रताप विक्रम पुन, अनन्ता चौधरी, मोहन आचार्य, गोमा शर्मा र चुमान चौधरी निर्वाचित भएका छन् ।

 

रास्वपा जिल्ला अधिवेशन : कहाँ को चुनिए ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप देशभर जिल्ला अधिवेशन सञ्चालन गरिरहेको छ। पार्टीले विभिन्न जिल्लामा नेतृत्व चयन गरिसकेको छ । अहिलेसम्मको विवरणअनुसार धेरै जिल्लामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको छ भने केही जिल्लामा प्रतिस्पर्धात्मक निर्वाचनबाट सभापति चुनिएका छन्।

कोशी प्रदेशतर्फ रास्वपाले विभिन्न जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ। झापामा ओमनाथ भण्डारी, मोरङमा भारत कँडेल, सुनसरीमा सागर दाहाल, तेह्रथुममा सुमन खत्री तथा ताप्लेजुङमा राजनकुमार कडरियाले जिल्ला सभापतिको जिम्मेवारी पाएका छन्। यी सबै जिल्लामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको पार्टीले जनाएको छ। 

बागमती प्रदेशमा पनि रास्वपाले जिल्ला सभापतिहरू चयन गरिसकेको छ। राजधानी काठमाडौंमा राजा शाक्य जिल्ला सभापति चुनिएका छन्। यसैगरी, नुवाकोटमा रमेश्वर गजुरेल, धादिङमा राजन अर्याल, काभ्रेपलाञ्चोकमा प्रवीण ढकाल, मकवानपुरमा सज्जनी पाठक तथा सिन्धुलीमा अभिनाश बस्नेत चयन भएका छन्। 

गण्डकी प्रदेशमा पनि रास्वपाले विभिन्न जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। पर्वतमा जलबहादुर पुर्जा, म्याग्दीमा युवराज रोक्का र कास्कीमा यदुनाथ अधिकारी सर्वसम्मत रूपमा जिल्ला सभापति चयन भएका छन्। पोखरा केन्द्रित कास्की जिल्ला रास्वपाका लागि रणनीतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ। कास्कीमा यदुनाथ अधिकारीको नेतृत्वले पार्टीलाई गण्डकी प्रदेशमा थप बलियो बनाउने विश्वास पार्टी कार्यकर्ताहरूले गरेका छन्। यसैगरी, लुम्बिनी प्रदेशको पाल्पामा विष्णुप्रसाद भण्डारी, रोल्पामा बालाराम थापा र गुल्मीमा हरि श्रेष्ठ सर्वसम्मत चुनिएका छन्। रोल्पाजस्तो ऐतिहासिक राजनीतिक पृष्ठभूमि भएको जिल्लामा रास्वपाले आफ्नो उपस्थिति जनाउन सक्नुले पार्टीको विस्तारलाई सकारात्मक संकेतको रूपमा हेरिएको छ।

कर्णाली प्रदेशको हुम्लामा लक्ष्मण ऐडी जिल्ला सभापति बनेका छन्। दुर्गम हिमाली जिल्ला हुम्लामा रास्वपाले अधिवेशन गर्नु र नेतृत्व चयन गर्नु आफैंमा एउटा उपलब्धि हो। पार्टीले कर्णाली जस्तो विकट क्षेत्रमा समेत संगठन विस्तारलाई तीव्रता दिएको छ। रास्वपाले केवल सहर केन्द्रित नभई ग्रामीण र दुर्गम क्षेत्रमा पनि आफ्नो पहुँच विस्तार गर्दै लगेको देखिन्छ। पार्टीका नेताहरूका अनुसार आगामी दिनमा बाँकी जिल्लाहरूमा पनि अधिवेशन सम्पन्न गरिनेछ।

रास्वपाले जिल्ला अधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रियाका रूपमा मात्र लिएको छैन, बरु संगठन सुदृढीकरण र नयाँ राजनीतिक संस्कृतिको अभ्यासको अवसरका रूपमा लिएको छ। पार्टी सभापति रवि लामिछानेले जिल्ला अधिवेशनले पार्टीको भावी दिशा तय गर्ने उल्लेख गर्दै सक्षम, इमानदार र जनउत्तरदायी नेतृत्व निर्माणमा जोड दिएका छन्। उनले पुराना दलहरूको भ्रष्ट र अलोकतान्त्रिक शैलीबाट माथि उठेर नयाँ राजनीतिक संस्कार विकास गर्नुपर्ने बताएका छन्। साथै, उनले सर्वसम्मत नेतृत्वलाई पार्टीभित्रको एकताको सूचक भन्दै यसलाई थप संस्थागत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

रास्वपाले जिल्ला अधिवेशनपछि प्रदेश अधिवेशन र राष्ट्रिय महाधिवेशनको तयारी थालेको छ। पार्टीको तालिकाअनुसार असार ९ देखि १५ गतेसम्म प्रदेश अधिवेशन सञ्चालन गरिनेछ। त्यसपछि असार २१ देखि २३ गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना हुनेछ। यो महाधिवेशनले रास्वपालाई संगठनात्मक रूपमा पूर्णता दिनेछ र पार्टीको भावी राजनीतिक कार्यदिशा तय गर्नेछ। हाल सत्तारूढ गठबन्धनमा सहभागी रास्वपा आफ्नो संगठनलाई देशव्यापी रूपमा विस्तार गर्दै आगामी निर्वाचनहरूमा थप प्रभावकारी भूमिका खेल्ने तयारीमा रहेको देखिन्छ।

सुत्नुअघि मोबाइल चलाउने बानी छ ?

काठमाडौं। सुत्नुअघि केही समय मोबाइल फोन चलाउने बानी अहिले धेरै मानिसको दैनिकीको हिस्सा बनेको छ। 

दिनभरको व्यस्ततापछि राति मात्रै फुर्सद हुने भएकाले कतिपय मानिस सामाजिक सञ्जाल चलाउने, भिडियो हेर्ने वा साथीभाइसँग च्याट गर्ने गर्छन्।

तर स्वास्थ्य विज्ञहरूका अनुसार यो बानीले निद्राको गुणस्तरमा मात्र नभई शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पार्न सक्छ।

विभिन्न अध्ययनहरूले मोबाइल, ट्याब्लेट र ल्यापटपको स्क्रिनबाट निस्कने नीलो प्रकाश (ब्लु लाइट) ले शरीरको प्राकृतिक जैविक घडी (बायोलोजिकल क्लक) मा असर पार्ने देखाएका छन्।

यो प्रकाशले शरीरमा उत्पादन हुने मेलाटोनिन नामक हर्मोनको स्रावलाई प्रभावित बनाउँछ। मेलाटोनिनलाई शरीरलाई निद्राको सङ्केत दिने प्रमुख हर्मोनका रूपमा लिइन्छ।

राति लामो समयसम्म मोबाइल प्रयोग गर्दा मस्तिष्क सक्रिय रहन्छ, जसका कारण सहज रूपमा निद्रा लाग्न कठिन हुन्छ। निद्रा लागे पनि बारम्बार ब्युँझने समस्या देखिन सक्छ। यस्तो अवस्था लामो समयसम्म रहिरहेमा अनिद्रा (इन्सोम्निया) को जोखिम बढ्न सक्ने स्वास्थ्य विज्ञहरूको भनाइ छ।

पर्याप्त र गुणस्तरीय निद्रा नपाउँदा बिहान उठेपछि पनि शरीरले आराम महसुस गर्न सक्दैन। दिनभरि थकान, सुस्ती, ध्यान केन्द्रित गर्न कठिनाइ र काममा उत्साह नहुने जस्ता समस्या देखिन सक्छन्। लगातार यस्तो अवस्था रहनु स्वास्थ्यका लागि चेतावनीको सङ्केत हुन सक्छ।

लामो समयसम्म मोबाइलको स्क्रिन हेर्दा आँखामा अत्यधिक तनाव पर्न सक्छ। यसले आँखामा सुख्खापन, जलन, धमिलो देखिने, टाउको दुख्ने तथा दृष्टिसम्बन्धी अन्य समस्या निम्त्याउन सक्छ। विशेषज्ञहरूका अनुसार अत्यधिक स्क्रिन प्रयोगले कम उमेरमै चस्माको आवश्यकता पर्ने सम्भावना पनि बढाउन सक्छ।

सुत्नुअघि सामाजिक सञ्जाल स्क्रोल गर्ने वा विभिन्न नोटिफिकेशन हेर्ने बानीले मस्तिष्कलाई आराम गर्ने अवसर दिँदैन। यसले तनाव, चिन्ता, बेचैनी तथा मनोभावमा उतारचढाव (मुड स्विङ) आउने समस्या बढाउन सक्छ। विशेषगरी नकारात्मक समाचार वा भावनात्मक सामग्री हेर्दा मानसिक दबाब अझ बढ्न सक्ने बताइन्छ।

स्वास्थ्य विज्ञहरूले सुत्नुभन्दा कम्तीमा एक घण्टा अगाडि मोबाइल, ट्याब्लेट वा अन्य डिजिटल उपकरण प्रयोग बन्द गर्न सुझाव दिएका छन्। सुत्ने समयलाई सहज बनाउन मोबाइलको सट्टा पुस्तक पढ्ने, हल्का संगीत सुन्ने वा ध्यान (मेडिटेसन) गर्ने जस्ता गतिविधि उपयोगी हुन सक्छन्।

त्यस्तै, शयनकक्षमा मोबाइल राख्ने बानी कम गर्नु, राति अनावश्यक नोटिफिकेशन बन्द गर्नु र नियमित सुत्ने तथा उठ्ने समय कायम गर्नु पनि स्वस्थ निद्राका लागि लाभदायक मानिन्छ।

विशेषज्ञहरूका अनुसार पर्याप्त र गुणस्तरीय निद्रा स्वस्थ जीवनशैलीको आधार भएकाले रातिको स्क्रिन समय नियन्त्रण गर्नु आजको डिजिटल युगमा आवश्यक बन्दै गएको छ। 

फिफा विश्वकप २०२६ : यस्ता छन् नयाँ नियम

काठमाडौं। आगामी फिफा विश्वकप २०२६ लाई थप तीव्र, निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र अन्तर्राष्ट्रिय फुटबल नियम बोर्ड (आईएफएबी) ले खेलका केही महत्वपूर्ण नियममा परिवर्तन गरेका छन्।

खेलको गति बढाउने, अनावश्यक समय बर्बाद गर्ने प्रवृत्ति नियन्त्रण गर्ने तथा रेफ्रीको निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित यी नयाँ व्यवस्थाहरू लागू गर्न लागिएको हो।

फिफाका अनुसार पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय फुटबलमा खेल ढिलो बनाउने रणनीति, अनावश्यक समय खेर फाल्ने अभ्यास र चोटपटकको बहानामा खेल रोक्ने प्रवृत्ति बढ्दै गएको निष्कर्षपछि नियममा संशोधन गरिएको हो। यी परिवर्तनहरू विश्वकप २०२६ सहित फिफाअन्तर्गतका प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा लागू हुनेछन्।

नयाँ नियमअनुसार खेलाडीले थ्रो-इन वा गोल–किक लिन अनावश्यक ढिलाइ गरेमा रेफ्रीले पाँच सेकेन्डको स्पष्ट काउन्टडाउन गर्नेछन्। निर्धारित समयभित्र खेल पुनः सुरु नगरेमा थ्रो-इनको अवस्थामा विपक्षी टोलीलाई बल प्रदान गरिनेछ भने गोल–किकमा ढिलाइ भए विपक्षी टोलीले कर्नर किक पाउनेछ।

फिफाको विश्वास छ कि यस व्यवस्थाले खेलको लय कायम राख्दै अनावश्यक समय बर्बाद गर्ने रणनीतिमा उल्लेखनीय कमी ल्याउनेछ।

खेलाडी परिवर्तनको प्रक्रियालाई पनि थप व्यवस्थित बनाइएको छ। अब मैदानबाट बाहिरिने खेलाडीले १० सेकेन्डभित्र मैदान छाड्नुपर्नेछ। यदि खेलाडीले जानाजान ढिलाइ गरेमा प्रतिस्थापन भएर आउने खेलाडीलाई तत्काल मैदान प्रवेश गर्न अनुमति दिइने छैन।

यस अवस्थामा सम्बन्धित टोलीले करिब एक मिनेटसम्म १० खेलाडीको भरमा खेल्नुपर्ने हुन सक्छ। फिफाले यसलाई खेलको अन्तिम समयमा हुने समय बर्बादी रोक्ने प्रभावकारी उपायका रूपमा व्याख्या गरेको छ।

नयाँ नियमले उपचारका क्रममा हुने ढिलाइलाई पनि लक्षित गरेको छ। यदि कुनै खेलाडीलाई मेडिकल स्टाफले मैदानमै उपचार गर्नुपरेमा खेल पुनः सुरु भएपछि ती खेलाडीले कम्तीमा ६० सेकेन्ड मैदानबाहिर बस्नुपर्नेछ।

यस व्यवस्थाले सामान्य चोटलाई नाटकीय रूपमा प्रस्तुत गरेर खेल रोक्ने र समय खेर फाल्ने प्रवृत्ति नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अनुशासनसम्बन्धी प्रावधान पनि थप कडा बनाइएको छ। अब खेलाडीहरूले विवादका क्रममा हात वा जर्सीले मुख छोपेर रेफ्रीसँग बहस गरेमा वा असभ्य व्यवहार देखाएमा सिधै रातो कार्ड देखाइने व्यवस्था गरिएको छ।

यस्तै, रेफ्रीको निर्णयको विरोधमा मैदान छाड्ने, अन्य खेलाडीलाई उक्साउने वा खेल अवरुद्ध गर्ने गतिविधिमा संलग्न खेलाडी तथा टोलीका अधिकारीमाथि पनि कडा कारबाही हुने फिफाले जनाएको छ।

भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणालीलाई पनि थप प्रभावकारी बनाइएको छ। अब भिएआरले गलत तरिकाले दिइएका कर्नर किक, दोस्रो पहेँलो कार्डसँग सम्बन्धित निर्णय तथा खेलका केही स्पष्ट प्राविधिक त्रुटिहरूको समीक्षा गर्न सक्नेछ।

यसअघि भिएआरको प्रयोग मुख्यतः गोल, पेनाल्टी, सिधा रातो कार्ड र गलत पहिचानका घटनामा मात्र सीमित थियो। नयाँ व्यवस्थाले रेफ्रीको निर्णयलाई थप पारदर्शी र निष्पक्ष बनाउने विश्वास गरिएको छ।

फिफाका अनुसार यी नयाँ नियमहरूको मुख्य उद्देश्य खेलको वास्तविक समय बढाउनु, दर्शकलाई थप रोमाञ्चक अनुभव प्रदान गर्नु र प्रतिस्पर्धालाई अझ निष्पक्ष बनाउनु हो।

विश्वकप २०२६ मा लागू हुने यी व्यवस्थाले आधुनिक फुटबललाई अझ छरितो, अनुशासित र मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ।

धान रोपाइँको तयारीमा व्यस्त खोकनाका किसान [फोटो-फिचर]

ललितपुर। धान रोपाइँको मौसम नजिकिँदै जाँदा ललितपुरको खोकनाका किसानहरू यतिबेला खेतबारी तयारीमा व्यस्त देखिएका छन्।
कसैले हाते ट्र्याक्टर प्रयोग गरी खेत जोत्दै माटोलाई रोपाइँयोग्य बनाइरहेका छन् भने कसैले खेतका कान्ला सफा तथा व्यवस्थापन गर्दै आगामी रोपाइँका लागि आवश्यक तयारी गरिरहेका छन्।
खोकनाका खेतहरूमा देखिएको चहलपहलले कृषि गतिविधि मात्र होइन, पुस्तौँदेखि निरन्तर चलिआएको स्थानीय कृषि संस्कृति र जीवनशैलीलाई समेत प्रतिबिम्बित गरेको छ। हाते ट्र्याक्टरको प्रयोगले खेत तयारीको कामलाई सहज र छिटो बनाएको किसानहरू बताउँछन्।
हरेक वर्षझैँ यस वर्ष पनि किसानहरूले राम्रो उत्पादनको अपेक्षासहित नयाँ खेती चक्रको सुरुवात गरेका छन्। खेतमा पसिना बगाइरहेका किसानहरूको मेहनत केवल अन्न उत्पादनसँग मात्र सीमित छैन, यो परिवारको जीविकोपार्जन, स्थानीय अर्थतन्त्र तथा खाद्य सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको छ।
आज खेतमा माटो पल्टाइँदैछ, रोपाइँका लागि जमिन तयार पारिँदैछ, र केही सातापछि यही खेतहरू हरियाली धानबालीले ढाकिनेछन्। शहरीकरणको प्रभाव बढ्दै गए पनि खोकनाका किसानहरू अझै प्रकृतिको लय र कृषि परम्परासँग जोडिएर जीवनयापन गरिरहेका छन्।
खेतमा हाते ट्र्याक्टर चलाउँदै गरेका किसान, कृषि सामग्री बोकेर खेततर्फ लागिरहेका कृषक तथा टाढासम्म फैलिएका खेतका दृश्यहरूले नेपालको कृषि जीवनको वास्तविक चित्र प्रस्तुत गर्छन्।
यी गतिविधिहरूले भविष्यको उत्पादनको आधार तयार पार्ने किसानहरूको अथक मेहनत र समर्पणलाई उजागर गरेका छन्।
तस्वीरहरू:

‘डिजिटल गण्डकी संवाद २०२६’ सम्पन्न, नेपालको डिजिटल रूपान्तरणका लागि रणनीतिक खाका सार्वजनिक

काठमाडौं । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने उद्देश्यसहित कास्कीको पोखरामा आयोजित बहुप्रतीक्षित प्रादेशिक भेला ‘डिजिटल गण्डकी संवाद २०२६’ सम्पन्न भएको छ।

क्यान महासंघ गण्डकी प्रदेश र क्यान महासंघ कास्की शाखाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमले डिजिटल अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल सुशासनका विषयमा व्यापक छलफल गर्दै भावी रणनीतिक मार्गचित्र प्रस्तुत गरेको हो।

कार्यक्रममा प्रविधि क्षेत्रका विज्ञ, उद्योगी, नीतिनिर्माता तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सम्मेलनले डिजिटल पूर्वाधारको विस्तार, डाटा सुरक्षाको सुनिश्चितता तथा स्वदेशी सूचना प्रविधि उद्योगको प्रवर्द्धनमार्फत नेपाललाई डिजिटल रूपमा आत्मनिर्भर बनाउने लक्ष्यमा जोड दिएको छ।

कार्यक्रमका मुख्य वक्ता एवं क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा डिजिटल ट्रान्सफर्मेसन लिडर चिरञ्जीवी अधिकारीले ‘सार्वभौम एआई र रणनीतिक नीतिगत वकालतमार्फत नेपालको राष्ट्रिय सूचना प्रविधि एजेन्डाको प्रवर्द्धन’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए। उनले डाटा सार्वभौमिकता, सुरक्षित डिजिटल पूर्वाधार र क्षेत्रीय आत्मनिर्भरताका लागि स्पष्ट नीतिगत खाका आवश्यक रहेको उल्लेख गरे।

उनका अनुसार नेपालले आफ्नै डाटा, आफ्नै डिजिटल प्रणाली र स्वदेशी प्रविधिलाई प्राथमिकता दिने नीतिमा अघि बढ्न सके मात्रै विश्वव्यापी डिजिटल प्रतिस्पर्धामा स्थान बनाउन सक्नेछ। उनले कृत्रिम बुद्धिमत्ताको विकास र प्रयोगमा राष्ट्रिय नीति तथा सुरक्षा मापदण्ड आवश्यक रहेको धारणा राखे।

क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष गुणनिधि पाण्डेले प्रस्तुत कार्यपत्रलाई नेपालको डिजिटल भविष्यका लागि महत्त्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरे। उनले सार्वभौम एआई र रणनीतिक नीतिगत वकालतमा आधारित अवधारणाले प्रदेश तथा समग्र राष्ट्रको डिजिटल एजेन्डालाई अगाडि बढाउन बलियो आधार तयार गरेको बताए।

त्यस्तै, क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले सम्मेलनमा उठाइएका विषयलाई व्यवहारमा उतार्न आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। स्थानीय तहदेखि संघीय सरकारसम्म समन्वय गरेर डिजिटल रूपान्तरणको अभियानलाई प्रभावकारी बनाइने उनको भनाइ थियो।

कार्यक्रममा आईसीटी कोअपरेटिभ पोखराका अध्यक्ष सबी शेरचनले इन्टरनेट पूर्वाधार, डिजिटल भुक्तानी प्रणाली तथा सुरक्षित डिजिटल सुशासनका विषयमा प्रस्तुत अवधारणाले स्थानीय तहको प्राविधिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

सम्मेलनमा क्यान महासंघले सरकारसमक्ष आईटी क्षेत्रको विकासका लागि विभिन्न नीतिगत सुधारका प्रस्तावहरू पनि अघि सारेको छ। महासंघले स्वदेशी आईटी कम्पनीहरूलाई प्रोत्साहन गर्न १५ प्रतिशत कर्पोरेट करको व्यवस्था गर्नुपर्ने, सार्वजनिक खरिद ऐन संशोधन गरी ‘नेपालमा निर्मित सफ्टवेयर’लाई अनिवार्य प्राथमिकता दिनुपर्ने तथा राष्ट्रिय स्तरका हरित डाटा सेन्टर स्थापना गर्नुपर्ने सुझाव दिएको छ।

त्यसैगरी, सम्मेलनमा प्रस्तुत गरिएको राष्ट्रिय प्रतिवेदन ‘पालिका र प्रदेशहरूमा डिजिटल शासन प्रयास र अभ्यास’ ले नेपालको डिजिटल पहुँचमा अझै ठूलो असमानता रहेको तथ्य सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार देशभरका ४३४ भन्दा बढी स्थानीय तहको अध्ययन गर्दा करिब ६५ वटा वडा कार्यालयमा अझै विद्युत् सेवा पुगेको छैन भने ५५ वटा वडा कार्यालय इन्टरनेट सुविधाबाट वञ्चित छन्।

यस अवस्थाले ग्रामीण क्षेत्र र सहरी क्षेत्रबीच डिजिटल विभाजन अझै चुनौतीका रूपमा रहेको प्रतिवेदनले औंल्याएको छ। सो समस्या समाधानका लागि ‘डेटा फर डिसिजन मेकिङ’ प्रणालीमार्फत तथ्यमा आधारित निर्णय प्रक्रिया विकास गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ।

सम्मेलनको निष्कर्षमा नेपालको संविधानले आत्मसात् गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तअनुसार संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै ‘डिजिटल नेपाल’को राष्ट्रिय अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरिएको छ।

आयोजकका अनुसार ‘डिजिटल गण्डकी संवाद २०२६’ ले नेपालको सूचना प्रविधि क्षेत्रको दीर्घकालीन विकास, डिजिटल सुशासनको विस्तार तथा स्वदेशी प्रविधिको प्रवर्द्धनका लागि साझा दृष्टिकोण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

‘पेड्डी’ फिल्म विवाद: जाह्नवी कपुरको च्याट भाइरल

एजेन्सी। दक्षिण भारतीय फिल्म ‘पेड्डी’ प्रदर्शनपछि सुरु भएको विवादले नयाँ मोड लिएको छ।

फिल्ममा अभिनेत्री जाह्नवी कपुरको चरित्रलाई प्रस्तुत गरिएको शैलीलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला उनको भनिएको एउटा कथित निजी च्याट सार्वजनिक भएको छ, जसले विवादलाई थप चर्काएको छ।

सामाजिक सञ्जालका विभिन्न फ्यान पेजहरूले सार्वजनिक गरेका स्क्रिनसटहरूमा जाह्नवीले फिल्मको छायांकनका क्रममा केही क्यामेरा एङ्गलप्रति असन्तुष्टि व्यक्त गरेको दाबी गरिएको छ।

ती सन्देशहरूमा उनले आफ्नो भूमिकालाई अभिनयभन्दा बढी शारीरिक बनावटमा केन्द्रित गरेर देखाउन खोजिएको भन्दै आपत्ति जनाएको उल्लेख छ।

भाइरल स्क्रिनसटअनुसार जाह्नवीले एक सन्देशमा लेखेकी छन्, ‘मैले फिल्ममा छाती र कम्मरलाई केन्द्रित गर्ने कुनै पनि सट नराख्न स्पष्ट रूपमा भनेकी थिएँ।’ यद्यपि, यी च्याट वास्तविक हुन् वा होइनन् भन्नेबारे अभिनेत्री वा उनको आधिकारिक टोलीले अहिलेसम्म कुनै पुष्टि गरेको छैन।

सार्वजनिक भएका कथित च्याटहरूमा फिल्मका मुख्य अभिनेता राम चरणले पनि जाह्नवीको पक्ष लिएको उल्लेख गरिएको छ। स्क्रिनसटमा निर्देशकलाई यस्ता दृश्य नखिच्न आग्रह गरिएको र त्यसपछि छायांकन शैली परिवर्तन भएको दाबी गरिएको छ।

तर, यस विषयमा राम चरण वा फिल्म निर्माण टिमका अन्य सदस्यहरूले पनि कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

फिल्म ‘पेड्डी’मा जाह्नवीले निभाएको ‘अचियम्मा’ पात्रलाई लिएर सुरुदेखि नै मिश्रित प्रतिक्रिया आएको थियो। धेरै दर्शकले उनको चरित्रको कथावस्तुभन्दा पनि पहिरन, ग्ल्यामर र क्यामेरा एङ्गललाई बढी प्राथमिकता दिइएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले महिला पात्रलाई कथाको आवश्यकताभन्दा बढी आकर्षणको वस्तु बनाउने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्। यही बहसबीच कथित च्याट सार्वजनिक भएपछि विवाद झन् बढेको हो।

विवाद चर्किएपछि फिल्मका निर्देशक बुच्ची बाबु सनाले आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) मार्फत वक्तव्य जारी गर्दै माफी मागेका छन्।

उनले सिनेमाको उद्देश्य मनोरञ्जनसँगै दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्नु भएको उल्लेख गर्दै कसैलाई अपमानित गर्ने वा असहज बनाउने नियत नरहेको बताएका छन्।

निर्देशकले आफ्नो वक्तव्यमा भनेका छन् कि फिल्मका केही दृश्यले दर्शकमा नकारात्मक अनुभूति गराएको भए त्यसलाई गम्भीर रूपमा लिइएको छ र उनीहरूको भावनाको सम्मान गर्दै आवश्यक सुधार गरिनेछ।

दर्शकको आलोचनापछि निर्माण पक्षले आपत्तिजनक ठानिएका केही दृश्यहरू पुनः सम्पादन गर्ने निर्णय गरेको जनाएको छ। निर्देशक सनाले समयसँगै दर्शकको संवेदनशीलता र सामाजिक चेतनालाई ध्यानमा राख्नु फिल्मकर्मीको जिम्मेवारी भएको स्वीकार गरेका छन्।

उनले महिलाहरूको सम्मान र गरिमाप्रति आफू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सशक्त महिला पात्र भएका कथालाई प्राथमिकता दिने बताएका छन्।

यद्यपि, सामाजिक सञ्जालमा भाइरल भइरहेको कथित च्याटबारे जाह्नवी कपुर, उनका प्रतिनिधि वा फिल्म निर्माण टिमले कुनै औपचारिक पुष्टि गरेका छैनन्। त्यसैले सार्वजनिक भएका स्क्रिनसटहरूको सत्यताबारे स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको देखिन्छ।

भाइरल च्याट :

बागमतीका १३ मध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, को-को बने सभापति ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनअन्तर्गत बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ ।

पार्टीका प्रवक्ता भनिष झाले दिएको जानकारीअनुसार चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदैछ भने सिन्धुपाल्चोकको अधिवेशन विविध कारणले स्थगित गरिएको छ ।

हालसम्म सम्पन्न अधिवेशनबाट निर्वाचित जिल्ला सभापतिहरूको सूची हेरुनुहोस् :

  • काठमाडौं – राजा शाक्य
  • भक्तपुर – रामेश्वर बस्नेत
  • काभ्रेपलाञ्चोक – प्रबिन ढकाल
  • सिन्धुली – अविनाश बस्नेत
  • रामेछाप – रमेश रायमाझी
  • दोलखा – दिनेश बस्नेत
  • नुवाकोट – रामेश्वर गजुरेल
  • धादिङ – राजन अर्याल
  • मकवानपुर – सन्जिव पाठक

रास्वपाले देशव्यापी संगठन सुदृढीकरण अभियानअन्तर्गत जिल्ला अधिवेशनहरू सञ्चालन गरिरहेको छ । बाँकी जिल्लाको अधिवेशन सम्पन्न भएपछि बागमती प्रदेशको नेतृत्व चयन प्रक्रिया थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।

विश्व टेक्टोनिक परिवर्तनको भुइँचालोमा नेपाल(भिडियाे)

राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले हालको विश्व परिवर्तनलाई साधारण भूराजनीतिक उतारचढाव मान्ने भूल गर्न नहुने बताएका छन् । उनका अनुसार यो एउटा ‘टेक्टोनिक प्लेटको हलचल’ सरहको गहिरो, संरचनात्मक र अपरिहार्य परिवर्तन हो। ‘सन् १९५० को दशकमा अमेरिकी डिजाइन र ‘एंग्लो-स्याक्सन’ नेतृत्वमा निर्मित लिबरल ग्लोबल अर्डर (उदार विश्वव्यवस्था) यतिखेर विघटनको मुखमा छ,’ उनले नेपालवन एचडीसँगको भिडियो वार्तामा भने। 

सोभियत संघ पतनपछि एकध्रुवीय रुपमा स्थापित यो व्यवस्था, जुन संयुक्त राष्ट्र संघको चार्टर, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संरचनामा टेको थियो, अहिले पूर्वी शक्तिहरू (विशेषगरी चीन) को उदय र पश्चिमी शक्तिहरू (विशेषगरी ट्रम्पको अमेरिका) को अन्तरविरोधका कारण धराशायी भइरहेको मोक्तानको धारणा छ । 

मोक्तान भन्छन्, ‘नेपालजस्ता ‘बफर स्टेट’ का लागि यो टेक्टोनिक परिवर्तन प्रत्यक्ष धक्का बनेर आएको छ।’ पुरानो विश्वव्यवस्था मरेर नयाँ बहुध्रुवीय व्यवस्था जन्मिने क्रममा नेपालको हरेक संस्था, राजनीति र भूराजनीतिक हैसियत पुनर्परिभाषित भइरहेको उनले बताए ।

उनले बालेन्द्र शाहको वर्तमान सरकारलाई कानुन र संसदीय व्यवस्था स्वीकार गर्दै पनि तानाशाही र तमुडिउरे प्रवृत्तिको रुपमा व्याख्या गरे । उनले बालेनलाई नेचुरल इन्टेलिजेन्स(प्राकृतिक बुद्धि) भन्दा करिअरवादी टेक्नोक्र्याटको रुपमा चित्रण गरेका छन् । ‘रास्वपा सभापति रवि लामिछानेलाई पपुलिस्ट फेरेंजी र बालेनलाई ‘प्रो-स्टेट एस्टाब्लिस्मेन्ट’ का रुपमा व्याख्या गर्दै दुवैको उदय सामाजिक सञ्जालको मद्दत बिना अधुरो रहन्छ,’ माेक्तानले भने । उनले उनीहरूलाई ‘नेचुरल इन्टेलिजेन्स’ भन्दा सोशल मिडिया मेट्रिक्स मा काम गर्ने रोबोटिक एक्सन बताए।

उनका अनुसार बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउन पछाडि पनि अमेरिकी एजेन्डा छ। यो अतिरञ्जन हो वा गम्भीर विश्लेषण ? जवाफ दिन दस्ताबेजको कमी छ। सेनालाई ‘आपनो प्यारलल सम्बन्ध’ विश्वभर छ भन्ने तर्कलाई पुष्टि गर्ने प्रमाण भने प्रस्तुत भएको छैन।

उनले पुराना नेताहरू- ओली, प्रचण्ड, शेरबहादुर माथि सेनाले विश्वास नगरेको, र नयाँ पुस्ता-बालेन, रविलाई करिअरवादी टेक्नोक्र्याट’ को संज्ञा दिए। उनका अनुसार पोलिटिकल फ्रेमवर्क भन्दा टेक्नोक्र्याटिक पावर बढी हाबी भएको यो अवस्था लोकतन्त्रको लागि खतराको संकेत हो।

(मोक्तानको विचारको सम्पादित अंश)

‘दोस्रो विश्वयुद्धपछि विजयी शक्तिको रुपमा उदाएको अमेरिकाले ‘लिबरल ओडर’ भन्ने एउटा अद्भुत संरचना बनायो। यो संरचना उदार पुँजीवाद, मानवअधिकार, लोकतन्त्र र संयुक्त राष्ट्र संघीय बहुपक्षवादमा आधारित थियो। तर व्यवहारमा यो अमेरिकी स्वार्थको परिधिमा मात्र सीमित थियो।

सन् १९९० को शुरुवाती दशकमा सोभियत संघको विघटनपछि यो व्यवस्था अझ विश्वव्यापी बन्ने दाबी गरियो, तर चीन, रुस र दक्षिणी गोलार्धका धेरै देशले यसलाई ‘पश्चिमी आधिपत्य’को रुपमा मात्र बुझे। यही बीचमा, चीनले सन् १९७१ मा संयुक्त राष्ट्र संघमा सोभियत संघको सहयोगमा आफ्नो स्थान बनायो, तर व्यवस्थाको डिजाइनमा उसको हात थिएन। पश्चिमी आलोचनाको जवाफ दिन असमर्थ यो व्यवस्था लोकतन्त्र र मानवअधिकारको नाममा अरब देश, अफ्रिका र एसियामा रङ क्रान्तिको हतियार बन्न पुग्यो। ट्युनिसियादेखि युक्रेनसम्मको अस्थिरतामा अमेरिकी प्रायोजित एनजीओ र सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, इन्स्टाग्राम) को भूमिका अहिले खुला रहस्य बनिसकेको छ।

चीनले अमेरिकी लिबरल अर्डरको विकल्प प्रस्ताव गर्न १९९० को दशकबाटै थालेको थियो। तर मुख्य प्रस्ताव सन् २०१४ पछि मात्र बलियो रुपमा अघि आएको हो। सी चिनफिङले राखेको ग्लोबल गभर्नेन्स इनिसिएटिभ (वैश्विक शासन पहल) ले चारवटा स्तम्भ प्रस्ताव गरेको छ।

पहिलो, बेल्ट एण्ड रोड इनिसिएटिभ जुन पूर्वाधार र अर्थतन्त्र केन्द्रित छ। दोस्रो, ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ जसले विभिन्न सभ्यता र संस्कृतिको सम्मानलाई केन्द्रित गरेको छ। तेस्रो, ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ जुन दिगो विकास लक्ष्यहरूको साझा कार्यान्वयनको कुरा गर्छ। चौथो, ग्लोबल सेक्युरिटी इनिसिएटिभले सुरक्षाको गैर-पश्चिमी दृष्टिकोण प्रस्तुत गरेको छ। नेपाल बिआरआईमा सहमत भैसकेको छ, जीसीआई र जीडीआईमा समेत नेपालको सहभागिता छ। तर जीएसआई मात्र यस्तो पहल हो जुन नेपालको सैन्य र रक्षा संरचनासँग जोडिन सक्छ। यसले अमेरिकी गठबन्धनलाई नरमी देखिएको छैन।

डोनाल्ड ट्रम्पको नेतृत्वको अमेरिका फर्स्ट नीति आफैमा विरोधाभासी छ। एकातिर, अमेरिकाले चीन र रुसलाई रोक्न नेपाल र दक्षिण एसियाली देशहरूलाई आफ्नो सहयोगी बनाउन चाहन्छ। अर्कातिर, उसको अमेरिका फर्स्टको परिभाषाले भन्छ- ‘अमेरिकी स्वार्थ भन्दा बढी अरूको स्वार्थ हुन सक्दैन।’

यसको प्रतिक्रियामा भारतले इन्डिया फर्स्ट नीति अख्तियार गरेको छ, जसलाई विदेशमन्त्री एस. जयशंकरले स्पष्ट रुपमा अमेरिकी मोडल सरह व्याख्या गरे। तर नेपालका लागि प्रश्न गम्भीर छ : नेपाल ‘फर्स्ट’ कहिले हुने ? जवाफको अभाव उत्तिकै पीडादायी छ। नेपालको असंलग्न परराष्ट्र नीति अमेरिकी भिक्टरी पार्कको सहभागिता मात्र बन्न पुग्यो। चीनमा विक्ट्री परेड (जापानविरुद्धको दोस्रो विश्वयुद्धको स्मारक) मा ओलीको सहभागिता त्यसैको प्रतीक हो।

बालेन साह सडकमा उत्रिएर विद्रोह गर्ने राजनीतिक व्यक्तित्व होइनन्। उनी पश्चिमा लबीको परियोजना हुन्। विशेष चर्चा रवि लामिछाने र बालेन्द्र साह बीचको सम्बन्धमा छ। यी दुवैले पश्चिमा-समर्थित एजेन्डाको परिधिमा काम गरिरहेका छन् ।

सबैभन्दा संवेदनशील विषय नेपाली सेना हो। सेनाले आफूलाई असफल शासनको विकल्प होइन, राष्ट्रिय अखण्डताको अन्तिम सहाराको रुपमा प्रस्तुत गर्छ। तर वार्ताले सेनाको प्यारलल डिप्लोमेसी माथि प्रश्न उठाएको छ। सरकारभन्दा सेनाको विदेशी लबी बलियो छ। जलाउन रोक्ने नाममा सेनाले प्रदर्शनकारीमाथि प्रहार गरेको, मानवअधिकार हनन भएको आरोप पनि छ। तर अन्तर्राष्ट्रिय समुदाय मौन रहेको तर्क  पनि छ। किनभने त्यो लिबरल गठबन्धनको बलियो गढ हो।

कांग्रेस र एमालेलाई लिबरल गठबन्धनको परिधि भित्र कैद गरिएको छ। गगन थापा र स्वर्णिम वाग्लेको आलोचना यस अर्थमा गरिन्छ कि उनीहरूले पुरानो संरचना तोड्ने हिम्मत देखाएनन्। नयाँ शक्ति (बाबुराम भट्टराई, उज्ज्वल थापा) को प्रयोग पनि औपचारिकता मात्र रह्यो। यदि अहिलेको यो यथास्थिति जारी रह्यो भने, अबको दुई/चार वर्षमा नेपालको युवा पुस्ताले सडकबाटै ‘एलिट’ को अनुहार बदल्न बाध्य हुनेछ। तर त्यो परिवर्तन सहज हुनेछैन। बंगलादेश, श्रीलंका, थाइल्याण्डको हालको सैन्य र गैर-सैन्य उथलपुथल जस्तो परिवर्तन नेपालमा पनि हुन सक्छ ।

नेपालले प्रायः दुईवटा भाष्य सुन्छ- यो तिब्बत-भारतको प्राकृतिक बफर हो, वा यो दुई महाशक्ति बीचको हातहतियार हो। यी दुवै भाष्यले नेपालको संप्रभु परराष्ट्र नीति माथि नै गम्भीर आक्रमण गर्छन्। विडम्बना चीनले नेपाललाई ग्लोबल सेक्युरिटी इनिसिएटिभभित्र ल्याउन चाहन्छ, जसको अर्थ नेपालको सुरक्षा नीति बहुपक्षीय हुनेछ। अमेरिका र भारत चाहन्छन्-नेपाल उनीहरूको परम्परागत परिधिभित्र रहोस्। यता भने नेपाली सत्ताको हरेक इनार अमेरिकी पैसा वा चिनियाँ पूर्वाधारले भरिएको छ। साँच्चो ‘नेपाल फर्स्ट’ को आवाज कसैले बोल्दैन।

नयाँ ओल्ड अर्डरको स्थापना नभएसम्म नेपाल एउटा प्रतिस्पर्धाको बजार मात्र रहनेछ। यदि दुई महाशक्ति अमेरिका र चीनबीचको टकराव नेपालको भूमिमा सीमित भयो भने, नेपाली सेनाले ह्यान्डलिङको जिम्मा लिनुपर्ने अवस्था आउन सक्छ।

बजेटका सन्दर्भमा 

अहिलेको बजेट नै एउटा नमूना हो। तलब बढाउने, कर्मचारी राजनीतिक नियुक्ति बढाउने, र आउँदो चुनावलाई लक्षित गर्दै पपुलिस्ट बजेट ल्याइएको छ। यसमा एउटा श्लोक सम्झिन चाहन्छु- ‘यावज्जीवेत् सुखं जीवेत्, ऋणं कृत्वा घृतं पिबेत्,’ अर्थात् जति बाँचे, खुसीले बाँचे, ऋण नै किन नलिओस्, धेरै घिउ पिउनु पर्छ।

तर यो ऋणको भारी आउँदो पुस्ताले तिर्नुपर्छ। एकातिर राष्ट्रिय ऋण चुक्ता गर्न नसक्ने अवस्था छ। अर्कातिर विदेशी मुद्रा सञ्चिति घट्दो स्थितिमा छ।  तेस्रो भनेको गरिबीको रेखामुनीकोको जनसंख्याबढीरहेको छ । अहिले नेपाली अर्थतन्त्र चुनावी गोलमाल र लिबरल अनुशासनबीच फसेको छ।

सन्तुलित बजेटको नारा त केवल बाहिरी रोगन मात्र हो। भित्र ऋणको भारीले सरकार आफैँ ‘डिसोल्भेन्सी’ को संघारमा पुगेको छ। चुनाव आउँदै गर्दा जनतालाई राहतभन्दा पनि पदाधिकारीको तलब र सुविधा बढाउनमा बजेट केन्द्रित हुनु दुःखद हो।

मोक्तानले हेनरी किसिन्जरको उक्त भनाइ उद्धृत गर्दै निष्कर्ष निकालेका छन्, ‘टु बी अ फ्रेन्ड अफ अमेरिका इज फेटल’ (अमेरिकाको साथी हुनु घातक हुन्छ)। बालेन्द्र शाहलाई समर्थन गर्ने अमेरिकी लबीले नै जुन दिन यो साथ फिर्ता लिन्छ, त्यस दिन नेपालको वर्तमान ‘कृत्रिम शासन’ ढल्नेछ।

सद्दाम हुसेन, बिन लादेन, र हालै युक्रेनका जेलेन्स्की- जो जहिले पनि अमेरिकाको मित्र बने। अन्ततः ती सबै विपत्तिमा परे। नेपालले पनि यदि आफ्नो स्वार्थ र राष्ट्रिय हितलाई मध्यमा नराखी कसैको उपग्रह बन्न खोज्यो भने नियति त्यस्तै हुन्छ। भारतले पनि इन्डिया फर्स्ट भन्दै अमेरिकाको माइनर ब्रदरको भूमिकाबाट बाहिर निस्कने संकेत दिएको छ। तर नेपाल अझै माइनर चाइल्डको मानसिकतामा फसेको तर्क गरिन्छ। यही मानसिकता नै नेपाललाई बफर स्टेट मात्र होइन, प्रपञ्चको एक कोष्ठक बनाइरहेको छ।

नेपालका सबै संस्था कमजोर भइसकेका छन्। एलिट डिसिप्लिन भनेको के हो भन्ने जान्दैनन्। संविधान संशोधनको बहस टाढाको सपना बन्न पुगेको छ। यदि संविधानलाई पुनर्जीवित गर्न सकिएन र सामूहिक सहमति बन्न सकेन भने अमेरिका, चीन र भारतको प्रतिस्पर्धाको पाटो बन्नु नै नेपालको भाग्य हुनेछ।

प्राकृतिक बुद्धिमताको ठाउँमा कृत्रिम बुद्धिले शासन गर्न थालेको छ। यो एआईको शासन सामाजिक सञ्जालको मेट्रिक्स, एल्गोरिदम र डाटा केन्द्रित छ, जुन जनताको वास्तविक पीडा र आकांक्षाभन्दा टाढा छ। यसलाई टेक्नोक्र्याटिक तानाशाहीको नाम दिन सकिन्छ। विश्व टेक्टोनिक परिवर्तनले नेपालको अस्तित्वलाई उत्तिकै चुनौती दिइरहेको छ। यो चुनौतीको जवाफ झुण्डिएको तटस्थताले होइन, स्पष्ट अनुशासित र बहु-गठबन्धन नीतिले दिनुपर्छ। अन्यथा, नेपाल एक्लो बफर राज्यको रुपमा मात्र होइन, एउटा असफल राष्ट्रको सूचीमा पर्नबाट बच्न सक्दैन।

अनुशासित एलिट, सुदृढ संस्था, र जनताको सचेत सहभागिता बिना कुनै पनि विश्वव्यवस्था नेपालको पक्षमा आउँदैन। पुरानो लिबरल अर्डर मरिसकेको छ। नयाँ अर्डर को जन्म भइसकेको छैन। यो संक्रमणकाल नै नेपालको लागि सबैभन्दा जोखिमपूर्ण समय हो। अब नेपालीले आफैँ निर्णय लिनुपर्छ- बहुध्रुवीय विश्वमा बहु-साझेदारी गर्ने तर कसैको पराधीन नहुने।’

भिडियाे: