`

पश्चिम बङ्गालमा भाजपा ऐतिहासिक जिततर्फ अग्रसर

काठमाडौं । भारतको राजनीतिमा नयाँ मोड देखाउने संकेत सहित प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बङ्गालको विधानसभामा उल्लेखनीय अग्रता कायम गरेको छ। लामो समयदेखि विपक्षी गढ मानिँदै आएको यो राज्यमा भाजपा शक्ति विस्तारका निर्णायक चरणमा पुगेको प्रारम्भिक मतपरिणामहरूले देखाएका छन्।

भारतको निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेका आंशिक नतिजाअनुसार, २९४ सदस्यीय पश्चिम बङ्गाल विधानसभामा भाजपाले कम्तीमा १२४ सिट जितिसकेको छ भने ८३ सिटमा अग्रता बनाइरहेको छ। यसले राज्यमा पहिलोपटक भाजपा सरकार बन्न सक्ने सम्भावना अझ प्रबल भएको विश्लेषणहरू भइरहेका छन्।

पश्चिम बङ्गालमा अहिलेसम्म सत्ता सम्हाल्न नसकेको भाजपाले वर्षौंदेखि मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको अखिल भारतीय तृणमूल कांग्रेस सरकारलाई विस्थापित गर्न निरन्तर प्रयास गर्दै आएको थियो। सन् २०११ देखि लगातार सरकारमा रहँदै आएकी बनर्जी मोदीकी कट्टर आलोचकका रूपमा परिचित रहिएकी छिन्, र राज्यमा उनको प्रभाव मजबुत मानिँदै आएको छ।

तर यसपटकको चुनाव प्रक्रिया विवादमुक्त रहेन। विपक्षी दलहरूले लाखौँ मतदाता सूचीबाट हटाइएका आरोप लगाउँदै निर्वाचन आयोगको निष्पक्षता प्रश्नगत रहेको दाबी गरेका छन्, जसले राजनीतिक वातावरण थप तिक्त बनाएको छ।

यहीबीच, अन्य दुई राज्यमा पनि सत्ता परिवर्तन भएको छ भने अप्रिलमा सम्पन्न अर्को राज्यीय चुनावमा भने भाजपाले आफ्नो सरकार जोगाउन सफल भएको थियो। एक अर्ब ४० करोडभन्दा बढी जनसंख्या र २८ राज्य तथा आठ संघीय क्षेत्रसमेत रहेको भारतमा नियमित हुने प्रदेशीय तथा स्थानीय चुनावले देशको राजनीतिक परिदृश्य निरन्तर बदलिनेरहने गर्दछ।

विशेषगरी तेस्रो कार्यकालको मध्य चरणमा पुगेका मोदीका लागि पश्चिम बङ्गालको प्रदर्शन रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिएको छ। सन् २०२४ को आम निर्वाचनपछि केन्द्रमा सरकार गठनका लागि क्षेत्रीय दलहरूको समर्थन आवश्यक परेको पृष्ठभूमिमा यो सफलता मोदीको राष्ट्रिय राजनीतिक आधारलाई अझ मजबुत बनाउने संकेतका रूपमा हेर्न सकिन्छ। आगामी २०२९ को निर्वाचनमा चौथो कार्यकालका लागि दाबी पेश गर्ने तयारी समेत भइरहेको बताइन्छ।

तस्बिर: एपी 

३ हजार ८ सयले घट्यो सुनको मूल्य

काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार देशभर सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ हजार ८ सय रुपैयाँले सस्तो हुँदै २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार भने छापावाल सुनको मूल्य २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि आज ओरालो लागेको छ। चाँदी तोलामा १५० रुपैयाँले घटेर ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

‘परालको आगो’को बक्स अफिसमा ३ करोडभन्दा बढी कमाइ

काठमाडौं। निर्देशक लक्ष्मण सुनार को फिल्म परालको आगो ले घरेलु बक्स अफिसमा ३ करोड १२ लाख रुपैयाँभन्दा बढी कमाइ गर्न सफल भएको छ।

चलचित्र विकास बोर्ड ले शनिबार रातिसम्म सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार फिल्मले ३ करोड १२ लाख १७ हजार ९२ रुपैयाँ ग्रस कलेक्सन गरेको हो।

उक्त अवधिसम्म फिल्मका १ लाख १० हजार ४४२ वटा टिकट बिक्री भएको बोर्डले जनाएको छ।

प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल र सिर्जना अधिकारी अभिनीत यो फिल्म गुरुप्रसाद मैनाली को चर्चित कथामा आधारित रहेको छ।

करिब २ करोड रुपैयाँ लगानीमा बनेको फिल्मले लगानी उठाउँदै नाफातर्फ उन्मुख भएको देखिएको छ।

कालंगा हाइड्रोको आइपिओ जेठ ८ देखि सर्वसाधारणका लागि खुल्ने

काठमाडौं । कालंगा हाइड्रो लिमिटेड ले जेठ ८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुलाउने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। सो प्रक्रिया पूरा भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ खुलाउन लागिएको हो।

कुल १ अर्ब ४० करोड रुपैयाँ जारी पुँजीमध्ये ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँ मूल्यका ४९ लाख कित्ता सेयर निष्कासन गर्न कम्पनीले अनुमति पाएको थियो। यसमध्ये १४ लाख कित्ता स्थानीय बासिन्दा र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ।

त्यस्तै, १ लाख ९५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। अब बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ १३ गतेसम्म तोकिएको छ। यदि सो अवधिसम्म सबै सेयरमा आवेदन नपरेमा निष्कासन अवधि जेठ २२ गतेसम्म थपिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपाल ले ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

आइपिओको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

यसका साथै मेरो सेयर अनलाइन प्रणालीमार्फत पनि सहज रूपमा आवेदन दिन सकिनेछ।

हर्मुज जलडमरूमध्यमा जहाजमा विस्फोट

एजेन्सी । हर्मुज जलडमरूमध्य मा सोमबार दक्षिण कोरियासँग सम्बन्धित एक जहाजमा विस्फोट भई आगलागी भएको दक्षिण कोरियाको विदेश मन्त्रालय ले जनाएको छ।

पानामाको झण्डा बोकेको उक्त जहाजमा ६ जना दक्षिण कोरियालीसहित २४ जना चालक दलका सदस्य सवार रहेका थिए। विस्फोट हुनुअघि जहाज संयुक्त अरब अमिरात नजिकैको समुद्री क्षेत्रमा रोकिएको थियो।

मन्त्रालयका अनुसार हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। विस्फोट र आगलागीको कारण भने तत्काल खुल्न नसकेको र क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ।

‘सरकारले यस विषयमा सम्बन्धित देशहरूसँग निकट समन्वय गर्नेछ र हर्मुज जलडमरूमध्यभित्र रहेका आफ्ना जहाज तथा चालक दलको सुरक्षाका लागि आवश्यक कदम चाल्नेछ,’ मन्त्रालयले जनाएको छ।

पश्चिम एसियामा जारी द्वन्द्व सुरु भएयता दक्षिण कोरियासँग सम्बन्धित करिब २६ वटा जहाज उक्त जलडमरूमध्य क्षेत्रमा प्रभावित भएको बताइएको छ।

स्मार्ट टेलिकम प्रकरण: जोशी पक्राउ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण ले इजाजतपत्र (लाइसेन्स) नवीकरण नगरेपछि खारेज गरिएको स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ परेका छन्।

प्राधिकरणको नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति हिनामिना गरेको तथा सरकारलाई नोक्सानी पुर्‍याएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो का प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा जोशीलाई काठमाडौं महानगरपालिका–२ खुर्सानीटारबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार ४५ वर्षीय जोशीलाई काठमाडौं जिल्ला अदालत बाट पक्राउ अनुमति लिएर सोमबार नियन्त्रणमा लिइएको हो।

स्मार्ट टेलिकम प्रालिले २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमतिपत्र प्राप्त गरेको थियो। तर, नियमानुसार नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम २०८० वैशाख ३ गतेदेखि उक्त अनुमतिपत्र स्वतः रद्द भएको थियो।

अनुमतिपत्र रद्द भएपछि ‘दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९’ अनुसार स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, पूर्वाधार, संरचना, प्रणाली र सञ्जाल प्राधिकरणले आफ्नो नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार उक्त सम्पत्तिमाथि बेइमानीपूर्वक सरकारको हक नोक्सान पुर्‍याउने उद्देश्यले काम गरिएको भन्दै जोशीमाथि आरोप लगाइएको छ। सरकारी सम्पत्ति हिनामिना, ठगी तथा आपराधिक विश्वासघातमा संलग्न देखिएकाले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको सीआईबीले जनाएको छ।

हाल जोशीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शिक्षालय र कर्मचारीतन्त्रमा दलगत हस्तक्षेप अन्त्य गर्न अध्यादेश : प्रधानमन्त्री

काठमाडौं।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले शिक्षालय र कर्मचारीतन्त्रमा देखिएको दलगत हस्तक्षेप अन्त्य गर्न सरकारले अध्यादेश ल्याएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि विद्यार्थी र कर्मचारीतन्त्र पार्टीकरणको शिकार बन्दै आएको उल्लेख गरेका छन्। ‘धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले एउटै कुरा भन्दै आएका छन्, विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो,’ उनले लेखेका छन्।

प्रधानमन्त्री शाहका अनुसार विभिन्न संगठनहरू विद्यार्थी र कर्मचारीको हितभन्दा बढी राजनीतिक दलका ‘स्लिपर सेल’मा परिणत हुँदा योग्यता र क्षमताभन्दा पहुँच र दलगत आस्थाको प्रभाव बढेको छ। यसले समग्र प्रणालीप्रति जनविश्वास कमजोर बनाएको उनको भनाइ छ।

सरकारले चाहेको खण्डमा नयाँ विद्यार्थी तथा कर्मचारी संगठन विस्तार गर्न सक्ने भए पनि अर्को दलगत संरचना थप्दा समस्या समाधान नहुने निष्कर्षसहित अध्यादेश ल्याइएको उनले स्पष्ट पारेका छन्।

‘शिक्षालयमा दलको झण्डा निषेध, कर्मचारीतन्त्रमा दलको झोला निषेध,’ उनले भने, ‘यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।’

प्रधानमन्त्री शाहले अब नियुक्ति, सरुवा र बढुवामा दलगत निकटता होइन, विधि, क्षमता र दक्षतालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्। साथै विद्यार्थीले गुरुबाट र कर्मचारीले विधि कानुनबाट सिक्नुपर्ने उल्लेख गर्दै उनले राजनीतिक संस्कार सुधारको आवश्यकता औंल्याएका छन्।

उनले यो कदम कुनै दलविरुद्ध नभई प्रणाली र भविष्य जोगाउने प्रयास भएको बताएका छन्। ‘यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो,’ उनले भने।

प्रधानमन्त्री शाहले परिवर्तन भाषणबाट नभई निर्णयबाट आउने उल्लेख गर्दै सरकार आम जनताको चाहनाअनुसार काम गर्न प्रतिबद्ध रहेको र सबै निर्णय जनहितमै केन्द्रित हुने विश्वास दिलाएका छन्।

वर्षायाम नजिकिँदै, तमोर कोरिडोरमा पुल अझै अधूरा, छिटो सक्न आङ्देम्बेको निर्देशन

काठमाडौं ।प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले तमोर कोरिडोर सडक खण्डअन्तर्गत निर्माणाधीन पुलहरूको स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा सडक कालोपत्रे भइसके पनि पुल निर्माणको काम अत्यन्त सुस्त गतिमा अघि बढिरहेको पाइएको भन्दै उनले निर्माण कम्पनीप्रति असन्तुष्टि जनाए।

वर्षायाममा बाढीका कारण सवारी आवागमन अवरुद्ध हुने समस्या दोहोरिँदै आएको उल्लेख गर्दै उनले कामलाई तीव्र बनाउन निर्देशन दिएका हुन्।

नेता आङ्देम्बेले भने, ‘बजेटको लागि पहल गर्ने म छु, तर यहाँ काम छिटो सक्नुपर्‍यो।”

पूर्वी पहाडलाई तराईसँग जोड्ने महत्त्वपूर्ण मार्गका रूपमा चिनिने तमोर कोरिडोरलाई ‘लाइफलाइन सडक’ मानिन्छ।

तर, लखुवा, नावाखोला, रगुवा र छरुवालगायत खोलामा पुल निर्माण ढिलाइ हुँदा हरेक वर्ष वर्षायाममा सवारी आवागमन प्रभावित हुँदै आएको छ।

खोलामा पानी बढ्दा सवारी साधन बग्ने, डुब्ने जस्ता जोखिमसमेत बढ्ने गरेको स्थानीयको गुनासो छ।

जनताले वर्षौंदेखि भोग्दै आएको समस्याप्रति गम्भीरता देखाउँदै नेता आङ्देम्बेले पुल निर्माणको जिम्मा लिएको कम्पनीका प्रतिनिधिहरूलाई काममा ढिलासुस्ती नगर्न सचेत गराएका छन्।

साथै, आवश्यक बजेट व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

अमेरिकालाई ‘कागजी बाघ’ भन्दै गर्जिएका थिए ‘माओ’

माओ त्से-तुंग चीनका क्रान्तिकारी नेता र जनवादी गणतन्त्र चीनका संस्थापक हुन्। उनको जन्म  १८९३ डिसेम्बर २६मा हुनान प्रान्तमा भएको थियो। उनी चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख नेताका रूपमा उदाए र लामो गृहयुद्धपछि १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थापना गरे। उनले भूमि सुधार र समाजवादी नीतिहरू लागू गरे। जसले चीनको संरचनामा ठूलो परिवर्तन ल्यायो। तर उनका केही नीतिहरू विवादास्पद पनि रहे।

माओ त्से गजब बोल्थे। उनका भाषणहरू प्रायः क्रान्तिकारी उत्साह, राजनीतिक संघर्ष र जनसमूहलाई प्रेरित गर्ने शैलीका हुन्थे।

उनी किसान, मजदुर र सामान्य जनतालाई केन्द्रमा राखेर कुरा गर्थे। उनका भाषणहरूमा वर्गसंघर्ष, साम्राज्यवादको विरोध, आत्मनिर्भरता र समाजवाद निर्माण जस्ता विषयहरू बारम्बार आउँथे।

उनी लामो व्याख्याभन्दा बढी स्पष्ट सन्देश र नारामूलक शैलीमा बोल्थे, जसले जनतालाई सीधा असर गर्थ्यो। उनका भाषणहरूमा ऐतिहासिक उदाहरण, क्रान्तिकारी संघर्षका अनुभव र भावनात्मक अपीलको मिश्रण पाइन्थ्यो, जसले श्रोताहरूमा जोश र राजनीतिक चेतना जगाउने काम गर्थ्यो।

उनको निधन१९७६ सेप्टेम्बर ९ मा बेइजिङमा भयो।

उनले अमेरिकालाई कागजी बाघ भन्दै दिएको भाषणको केहि अंश  जस्ताको त्यस्तै

‘पूँजीवादी संसारमा धेरै समस्याहरू छन्। हाम्रो संसारमा तुलनात्मक रूपमा कम समस्याहरू छन्। हामी दृढ रूपमा एकताबद्ध छौँ। युगोस्लाभिया हाम्रो शिविरमा छैन। त्यसैले यसको गन्ती हुँदैन। हामीले त्यसलाई बहिष्कार गरेका होइनौँ।  तर त्यो हामीसँग सामेल हुन चाहँदैन। हाम्रो शिविरका १२ राष्ट्रहरूको अवस्था निकै राम्रो छ। सधैं राम्रो नै रह्यो। कुनै खराब दिन आएको छैन। तर कहिलेकाहीँ आकाशमा कालो बादलहरू देखिन्छन्। केही मानिसहरू हामी सक्षम छैनौँ भन्छन्, अरूले हामी सक्षम छौँ भन्छन्। हामी भन्छौँ, ‘हामी सक्षम छौँ।’

मस्को सम्मेलनमा मैले १० वटा प्रमाणहरू प्रस्तुत गरेको थिएँ। जसले हामी सधैं सक्षम थियौँ भन्ने देखाउँछ। जब च्याङ काइ-शेक नानकिङमा थिए। र हामी येनानमा थियौँ। त्यतिबेला कुन पक्ष सक्षम थियो? त्यसबेला येनानमा केवल ७,००० मानिस थिए, उपनगरसहित। नानकिङ धेरै ठूलो थियो। नानकिङ र सांघाईजस्ता ठूला सहरहरू सबै च्याङ काइ-शेकको नियन्त्रणमा थिए। उनीसँग लाखौँ सैनिक थिए। जबकि हामीसँग केवल केही लाख गुरिल्ला सेना थियो।

सधैं सानोले ठूलोलाई पराजित गर्ने र कमजोरले शक्तिशालीलाई जित्ने कुरा हुँदै आएको छ। सानो र कमजोरमा ऊर्जा हुन्छ। तर ठूलो र शक्तिशालीमा हुँदैन।

समग्र अवस्था राम्रो छ। हामीले हिटलर, च्याङ काइ-शेक र अमेरिकी साम्राज्यवादको बारेमा धेरै कुरा गर्न आवश्यक छैन। हामीले सधैं अमेरिकी साम्राज्यवादलाई कागजको बाघ मानेका छौँ। दुर्भाग्य, एउटा मात्र अमेरिकी साम्राज्यवाद छ। यदि १० वटा भए पनि यसले हामीलाई फरक पार्दैन। यो ढिलो वा चाँडो समाप्त हुनेछ।

पेइचिङका जापानीहरूले हामीमाथि आक्रमण गरेकोमा मसँग माफी मागे। मैले भने,तिमीहरूले राम्रो काम गर्‍यौ। ठीक तिम्रो आक्रमण र चीनको आधाभन्दा बढी भाग कब्जा भएकै कारण हामी एकताबद्ध भयौँ। सम्पूर्ण राष्ट्रका जनतालाई नेतृत्व गरेर तिमीहरूलाई भगायौँ र पेइचिङमा आउन सक्यौँ।

जब हामी येनानमा थियौँ। हामी मेई लानफाङ र चेंग यानछ्युका नाटक कहिले हेर्न पाउँछौँ भनेर सोच्थ्यौँ। केही मानिसहरू त जीवनभर मौका नै आउँदैन भन्थे। तर हामीले ती नाटकहरू हेर्न पायौँ। क्रान्तिकारी अवस्था तीव्र रूपमा विकास भइरहेको थियो। सात वर्षभित्र सम्पूर्ण पार्टी एकताबद्ध भयो र च्याङ काइ–शेकलाई पराजित गर्‍यो। अहिले हामी एकताबद्ध भएर निर्माण कार्य गर्न चाहन्छौँ।

‘सातौँ पार्टी कांग्रेस’ ले एउटा कार्यक्रम बनाएको थियो। यो कांग्रेस पनि एकताको कांग्रेस थियो। विजयको कांग्रेस थियो। यसले साझा कार्यक्रम पनि बनायो। सम्पूर्ण पार्टीले समाजवाद निर्माणको सामान्य मार्गलाई सर्वसम्मत रूपमा तय गर्‍यो।  जुन सम्पूर्ण देशका जनताको पनि मार्गदर्शन हो। देशभित्रको अवस्था पार्टी र जनताबीचको एकताको अवस्था हो।

अन्तर्राष्ट्रिय अवस्था धेरै अशान्त छ। साम्राज्यवादी शिविरमा आन्तरिक झगडा छ। संसार शान्त छैन। फ्रान्स, अल्जेरिया, ल्याटिन अमेरिका, इन्डोनेसिया र लेबनानमा समस्याहरू छन्। यी सबै समस्याहरू पूँजीवादी संसारमा छन्। तर ती सबैले हामीलाई पनि असर गर्छन्। साम्राज्यवादको विरुद्ध हुने सबै कुरा हाम्रो लागि लाभदायक हुन्छ।

साम्राज्यवाद आफैँभित्र झगडा गरिरहेको छ। यसले इन्डोनेसिया, लेबनान र ल्याटिन अमेरिकालाई दमन गरिरहेको छ र अल्जेरियाका लागि लडिरहेको छ। सामान्य रूपमा हेर्दा कहिलेकाहीँ अवस्था खराब जस्तो देखिन्छ। आकाशमा कालो बादल देखिन्छ। त्यस्ता बेला हामीले दूरदर्शी हुनुपर्छ। हामीले अस्थायी अन्धकारबाट भ्रमित हुनु हुँदैन र सबै कुरा गलत छ भन्ने सोच्नु हुँदैन।

हाम्रो सबैभन्दा कठिन समय लङ मार्च थियो। अगाडि बाटो बन्द थियो र पछाडि सेना पछ्याइरहेको थियो। हाम्रो सेना, भूमि र पार्टी घटेर केवल एक दशांश बाँकी थियो। तर यी कठिनाइहरूले हामीलाई बलियो बनाए। पछि नयाँ अवसरहरू आए र हामी फेरि विकास भयौँ। हाम्रो एक औँला दस औँला बन्यो।

हामी जनवादी गणतन्त्र चीनको स्थापना र राष्ट्रिय विजयसम्म पुग्यौँ। सोभियत कम्युनिस्ट पार्टीको इतिहासको पहिलो अध्यायमा सानोबाट ठूलो बन्ने द्वन्द्ववादको कुरा गरिएको छ। सोभियत कम्युनिस्टहरू केही व्यक्तिको सानो कोषबाट सुरु भएर सम्पूर्ण राष्ट्रलाई नेतृत्व गर्ने ठूलो पार्टी बने। उनीहरूसँग सुरुमा एक राइफल पनि थिएन, तर उनीहरूले जार र केरेन्स्की सरकारलाई पराजित गरे।

त्यसरी नै हाम्रो पार्टी पनि सुरुमा केही दर्जन सदस्यबाट सुरु भएको थियो। पहिलो पार्टी कांग्रेसका चाउ फुहाई ‘राम्रो साथी’ थिए र चेन कुंगपो पनि ‘राम्रो साथी’ थिए। चेन तुशिउ बैठकमा आएनन्। तर प्रतिष्ठाका कारण उनी महासचिव चुनिए, तर उनी योग्य थिएनन्।

हाम्रो पार्टी इतिहासमा धेरै कठिनाइहरू आए-लङ मार्च, विभाजन र पुनः एकता। लङ मार्चको समयमा पनि पार्टी विभाजित भयो र फेरि एकताबद्ध भयो। झाङ गुओताओ अलग भए। तर एकता पुनः स्थापित भयो।

पछि येनानमा च्याङ काइ-शेक र जापानी सेनाले हामीलाई घेरे। १० भन्दा बढी आधार क्षेत्रमा विभाजन गरे। यस्तो कठिन अवस्थामा येनान वा नानकिङ कुन बलियो थियो? हामी वा च्याङ काइ–शेक? अहिले प्रमाणित भइसकेको छ कि हामी बलिया थियौँ। अन्यथा हामी यहाँ सभा गरिरहेका हुन्थेनौँ। उनी ताइवान किन भागे? अन्ततः विजेता को थियो?’

[स्रोत: ‘लङ लिभ माओ त्से–तुंग थट,’ अ रेड गार्ड पब्लिकेशन]

१५ वर्षे टीएमसीको सत्तालाई पराजित गर्दै पश्चिम बंगालमा बीजेपी दुईतिहाइ नजिक

काठमाडौं ।  भारतको पश्चिम बंगालसहित चार राज्य र एक केन्द्र शासित प्रदेशमा हालै सम्पन्न भएको विधानसभा चुनावको मतगणना जारी छ। जारी मतगणना अनुसार पश्चिम बंगालमा सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी) भन्दा भारतीय जनता पार्टी (बीजेपी) निकै अगाडि देखिएको छ।

ताजा मतपरिणाममा टीएमसीको ८५  सिटमा र बीजेपीको २०२ सिटमा अग्रता छ । २९४ सदस्यीय विधानसभा मा बहुमतका लागि १४८ सिट आवश्यक पर्छ, जसअनुसार प्रारम्भिक रुझानमै बीजेपीले बहुमत प्राप्त गर्ने देखिन्छ।

यदि यो राज्यमा टीएमसी पराजित हुन्छ भने यो परिणाम धेरै हिसाबले ऐतिहासिक हुनेछ। पश्चिम बंगालमा सन् २०११ देखि लगातार टीएमसीको सरकार छ भने ममता बनर्जी पछिल्ला १५ वर्षदेखि मुख्यमन्त्री रहँदै आएकी छन्। ०११ मा उनी ३४ वर्ष लामो वामपन्थी सत्तालाई पराजित गर्दै मुख्यमन्त्री बनेकी थिइन्। 

यदि यस पटकको चुनावमा बीजेपीले जित हासिल गर्यो भने उसले पश्चिम बंगालमा पहिलोपटक सरकार बनाउनेछ। 

अघिल्लो चुनावमा टीएमसीले २१५ सिट र बीजेपीले ७७ सिट जितेको थियो। तर यसपटकका अधिकांश एग्जिट पोलहरूले टीएमसी र बीजेपीबीचको मतान्तर निकै कम हुने अनुमान गरेका थिए।  कुनै एक दलले बहुमत पाए पनि ठूलो अन्तर नहुने बताइएको थियो। तर अहिलेको रुझानमा बीजेपी ठूलो जिततर्फ अघि बढिरहेको देखिन्छ।

पछिल्ला ५० वर्षमा पश्चिम बंगालमा प्रायः एकतर्फी चुनाव हुँदै आएका छन्। चाहे कांग्रेस होस्, लेफ्ट होस् वा टीएमसी- जुन दलले जित्छ, उसले प्रायः ठूलो बहुमतसहित सरकार बनाउँदै आएको इतिहास छ।

चुनावका दुई चरणमा कुल मतदान प्रतिशत ९२.४७% पुगेको छ, जुन भारतको स्वतन्त्रता पछिको पश्चिम बंगालमा अहिलेसम्मकै उच्च मतदान हो। यद्यपि यस राज्यमा परम्परागत रूपमा अन्य राज्यहरूको तुलनामा उच्च मतदान हुँदै आएको छ, तर यसपटक शहरी र ग्रामीण दुवै क्षेत्रमा ९०% भन्दा बढी मतदान हुनु असाधारण मानिएको छ।

ऋणले देश गरीब भयो भन्ने सरकारले थप्यो २ महिनामा ४८ अर्ब बढी ऋण

काठमाडौं । सरकारले गठन भएको दुई महिना नपुग्दै करीब ४८ अर्ब स्वीकार गर्ने निर्णय गरेको छ।

यही सरकार हो जसले ‘ऋणले देश टाट पल्ट्यो’ भन्दै नागरिकमा भ्रमको सिर्जना गर्ने गर्दथ्यो। अहिलेका सरकारका प्रधानमन्त्री बालेन्द्र शाहका अधिकांश र्‍याप गीत त्यही अभिप्राय सहित निर्माण भएका छन्। अहिलेका मन्त्रिपरिषदका सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसदहरूले विरोध मात्रै गर्थेनन्, अल्गोरिदममार्फत सामाजिक सञ्जालमा आलोचनाको खेती र व्यापार गर्ने गर्थे।

आजमात्रै सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर अर्थात् ७ अर्ब ८९ करोडभन्दा बढीको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ। त्यस्तै ५ मिलियन अमेरिकी डलर अर्थात् ७५ करोड ९० लाखभन्दा बढीको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकको ऋण र अनुदान स्वीकार गर्ने निर्णय भएको प्रवक्ता सस्मिता पोखरेलले बताए।

बैठकले भारतसँग जी-टु-जी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ।

डिजिटल परियोजनाबाट सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, सूचना प्रविधि पूर्वाधार सुदृढ गर्ने तथा नागरिकलाई अनलाइन सेवामा सहज पहुँच दिने लक्ष्य राखिएको छ।

यस्तै, समावेशी वित्त परियोजनाले बैंकिङ पहुँच बाहिर रहेका वर्गलाई वित्तीय सेवामा जोड्ने, साना तथा मझौला उद्यममा लगानी प्रवाह बढाउने र वित्तीय स्थायित्व सुदृढ गर्न परिचालन गरिने उल्लेख छ।

सहुलियतपूर्ण ऋण भएकाले यसको ब्याजदर न्यून रहने र दीर्घकालीन रूपमा आर्थिक संरचना सुधारमा योगदान पुग्ने दाबी गरिएको छ।

यसअघि चैत २४ मा बसेको मन्त्रिपरिषद् बैठकबाट बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि भन्दै सरकारले विश्व बैंकको १२ अर्ब ९० करोड ३१ लाख ६ हजार अर्थात् ८५ मिलियन अमेरिकी डलर ऋण स्वीकार गरेको थियो।

गठन भएको केही दिनमै सरकारले विश्व बैंक र एसियाली विकास बैंकको करीब २८ अर्ब ऋण स्वीकार गर्ने निर्णय गरेको थियो।

नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि एडीबीबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर गरी ९० मिलियन डलर सहुलियत ऋण स्वीकार गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मिता पोखरेलले बताएका थिए । यस्तै, दिगो समावेशी वित्त परियोजना अन्तर्गत विश्व बैंकबाट ९५ मिलियन डलर ऋण लिने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।

बैंक तथा वित्तीय संस्थाहरुमा ७ अर्ब ३० करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ७ अर्ब ३० करोड रुपैयाँ लगानी गर्न तयारी गरेको छ। राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकमलाई ३६६ दिनका मुद्दती निक्षेप रूपमा लगानी गर्ने निर्णय भएको हो।

आज सार्वजनिक गरिएको सूचनाअनुसार, कुल रकममध्ये ५ अर्ब ८४ करोड वाणिज्य बैंकहरूमा, १ अर्ब ९ करोड ५० लाख राष्ट्रिय स्तरका विकास बैंकहरूमा तथा ३६ करोड ५० लाख राष्ट्रिय स्तरका फाइनान्स कम्पनीहरूमा परिचालन गरिनेछ।

यो रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई प्रस्तावित ब्याजदरसमेत उल्लेख गरी वैशाख २३ गतेभित्र आवेदन दिन आग्रह गरिएको सूचनामा उल्लेख गरिएको छ।

व्यापारमा ‘राम नाम सत्य’ भन्दा अघि ‘परालको आगो’

काठमाडौं। वैशाख ११ देखि प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ ले बक्स अफिसमा उल्लेखनीय सफलता हात पारेको छ। प्रारम्भिक १० दिनमै फिल्मले ३ करोड १२ लाख ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डले जनाएको छ। सो अवधिमा फिल्मका लागि १ लाख १० हजारभन्दा बढी टिकट बिक्री भएको छ।

लक्ष्मण सुनार निर्देशित यस फिल्ममा सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापा शीर्ष भूमिकामा देखिएका छन्।

यसैबीच, चैत २७ देखि प्रदर्शनमा रहेको फिल्म ‘राम नाम सत्य’ ले वैशाख २० सम्म ३ करोड ३९ लाख ग्रस कमाइ गरेको छ। ‘परालको आगो’भन्दा दुई साताअघि प्रदर्शनमा आए पनि यसको कुल कलेक्सन २७ लाखले मात्र बढी देखिएको छ।

माइकल चन्द निर्देशित ‘राम नाम सत्य’ एक एक्सन जनराको फिल्म हो, जसमा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट र दिव्या रायमाझी मुख्य भूमिकामा छन्।

बागमतीका मुख्यमन्त्री बानियाँ पक्राउ,खास के हो कुरो ?

काठमाडौं। सम्पत्ति शुद्धीकरण विभाग को टोलीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ को घर तथा निर्माण कम्पनीका कार्यालयमा सोमबार छापा मारेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै विभागको टोलीले बानियाँको निवास र उनकै स्वामित्वमा रहेको निर्माण कम्पनीको कार्यालयमा छापा मारेको जनाएको छ।

छापा मार्न विभागको टोली काठमाडौंबाट हेटौँडा पुगेको थियो। स्रोतका अनुसार टोली मध्याह्न करिब १२ बजे बानियाँको हेटौँडास्थित निवासमा पुगेको र करिब दुई घण्टापछि, २ बजे आसपास बाहिरिएको थियो।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार हेटौँडा-५, पिप्लेस्थित बानियाँ निर्माण सेवा (बीएनएस) कम्पनीको कार्यालयमा पनि छापा मारिएको छ। सो क्रममा आवश्यक कागजातहरू अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ।

यस्तै मुख्यमन्त्री बानियाँको घरमा विभागका करिब ७ सदस्यीय टोलीले खोजतलास गरेको जनाइएको छ। यद्यपि, नियन्त्रणमा लिइएका कागजातको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

बानियाँ निकट स्रोतका अनुसार उनी संसदीय दलको बैठकमा सहभागी रहेका बेला छापा मारिएको जानकारी पाएका थिए। उक्त बैठकमा सभामुख चयन र मन्त्रिपरिषद् फेरबदल सम्बन्धी विषयमा छलफल भइरहेको बताइएको छ।

यस विषयमा  बानियाँले कुनै प्रतिक्रिया दिएका छैनन्।

जेलबाटै दक्षिण एसिया थरथर बनाउने, को हुन् लरेन्स बिश्नोई ?

काठमाडौं। लरेन्स बिश्नोई दक्षिण एसियाको आपराधिक दुनियाँमा चर्चित र विवादास्पद नाममध्ये एक हो। उनको नाम संगठित अपराध, जबरजस्ती असुली, हत्या प्रयास, र अन्तर्राष्ट्रिय गिरोह नेटवर्कसँग जोडिँदै आएको छ। भारतका सुरक्षा निकायहरूले उनलाई एक खतरनाक आपराधिक गिरोहको प्रमुख योजनाकार का रूपमा चित्रण गर्दै विभिन्न गम्भीर मुद्दाहरू दायर गरेका छन्।

बिश्नोईको जन्म सन् १९९३ मा भारतको पञ्जाब राज्यको फिरोजपुर जिल्लामा भएको हो। उनी मध्यमवर्गीय परिवारबाट आएका हुन्।

उनका बुबा पहिले प्रहरी सेवामा थिए तर पछि कृषि पेशामा संलग्न भए। बिश्नोई बाल्यकालमा पढाइमा औसत विद्यार्थी मानिन्थे। पछि विद्यार्थी राजनीतिमा उनको रुचि बढ्दै गयो।

उच्च शिक्षाका लागि उनले पञ्जाब विश्वविद्यालयमा अध्ययन गरे। विश्वविद्यालय जीवनले उनको सामाजिक सम्बन्ध, सोच र गतिविधिमा ठूलो प्रभाव पारेको मानिन्छ। यसै क्रममा उनी विभिन्न विद्यार्थी संगठनहरूमा सक्रिय भए र नेतृत्व भूमिकामा देखा पर्न थाले।

विद्यार्थी राजनीतिमा सक्रिय रहँदा बिश्नोई विभिन्न समूहगत विवाद र हिंसात्मक घटनामा संलग्न भएको आरोप लाग्यो। सुरुमा राजनीतिक प्रतिस्पर्धाबाट सुरु भएको गतिविधि क्रमशः संगठित आपराधिक गतिविधितर्फ मोडिएको बताइन्छ।

अनुसन्धान निकायका अनुसार, उनी पछि केवल सदस्य नभई योजनाकार को भूमिकामा देखिन थाले।

बिश्नोई गिरोह भारतका पञ्जाब, हरियाणा, राजस्थान, दिल्ली लगायत उत्तर भारतका क्षेत्रमा सक्रिय रहेको बताइन्छ। यो गिरोहको गतिविधि मुख्य रूपमा जबरजस्ती असुली, धम्की, हतियार प्रयोग गरी डर फैलाउने र योजनाबद्ध अपराध सञ्चालन गर्ने गरेको आरोप छ।

गिरोहका केही सदस्यहरू विदेशमा समेत सक्रिय रहेको दाबी गरिन्छ। जसले यसलाई अन्तर्राष्ट्रिय नेटवर्कको स्वरूप दिएको छ।

सन् २०१८ मा बिश्नोईले बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिएको घटना व्यापक चर्चामा आयो। मिडिया रिपोर्ट अनुसार, उनका सहयोगीहरूले सलमान खानको घर बाहिर गोलीसमेत चलाएका थिए।

यो विवाद १९९८ को काला हिरण शिकार मुद्दासँग जोडिएको मानिन्छ। जसलाई बिश्नोई समुदायले संवेदनशील विषयका रूपमा लिन्छ।

एनसीपी नेता बाबा सिद्दिकीको हत्या पछि पनि सामाजिक सञ्जालमा बिश्नोई गिरोहको नाम जोडेर चर्चा भयो। यद्यपि यस विषयमा आधिकारिक अनुसन्धान अझै जारी नै छ।

बिश्नोई पहिलो पटक सन् २०१४ मा पक्राउ परेका थिए। त्यसपछि उनी बारम्बार विभिन्न मुद्दामा जेल परे। उनले अधिकांश समय पञ्जाब, दिल्ली, राजस्थान, तिहाड र साबरमती जस्ता उच्च सुरक्षा जेलहरूमा बिताएका छन्।

प्रहरीका अनुसार, उनी जेलमै बसेर पनि आफ्नो गिरोह सञ्चालन गर्न सक्षम रहेको आरोप छ।  जसका लागि फोन र बाह्य सम्पर्क प्रयोग गरिएको दाबी गरिन्छ।

सन् २०२२ मा गुजरात एटीएसले ठूलो मात्रामा हेरोइन बरामद गरेपछि बिश्नोईको नाम ड्रग्स तस्करी नेटवर्कसँग पनि जोडियो। अनुसन्धान निकायका अनुसार केही योजना जेलभित्रैबाट बनेको र बाहिरका सहयोगीमार्फत कार्यान्वयन गरिएको दाबी गरिएको छ। तर यी आरोपहरू अदालतमा पूर्ण रूपमा प्रमाणित भइसकेका छैनन्।

बिश्नोईमाथि पञ्जाब, दिल्ली र राजस्थानमा ३० भन्दा बढी आपराधिक मुद्दा दर्ता छन्, जसमा हत्या, धम्की, असुली र संगठित अपराध सम्बन्धी आरोप समावेश छन्। तीमध्ये करिब १९ भन्दा बढी मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छन्।

बिश्नोई अहिले भारतको गुजरात राज्यस्थित साबरमती सेन्ट्रल जेलमा बन्द छन्।

बालेनको राजीनामा माग्दै पोखराका सुकुमवासी सडकमा(तस्वीरहरु)

काठमाडौं । पोखरामा सुकुमवासीहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग्दै प्रदर्शन गरेका छन्।

आन्दोलनमा सहभागी सुकुमवासीहरूले ‘डोजर आतंक बन्द गर’ भन्ने नारा लगाउँदै सडकमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले बस्ती हटाउने कार्यलाई अमानवीय भन्दै तत्काल रोक्न माग गरेका छन्।

प्रदर्शनकारीहरूले सरकार तथा सम्बन्धित निकायले वैकल्पिक व्यवस्था बिना बस्ती भत्काउने कार्य गरिरहेको आरोप लगाउँदै त्यसको विरोध गरेका छन्। साथै, सुकुम्वासी समस्या समाधानका नाममा भइरहेको कारबाही पुनर्विचार गर्न पनि उनीहरूले आग्रह गरेका छन्।

बागमतीका मुख्यमन्त्री बानियाँ पक्राउ पर्दै

काठमाडौं। सम्पत्ति शुद्धीकरण विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध अनुसन्धानलाई तीव्र बनाउँदै पक्राउ गरेरै छानबिन गर्ने विषयमा कानुनी परामर्श गरिरहेको जनाएको छ।

विभाग स्रोतका अनुसार बानियाँको घर तथा कार्यालयमा छापा मारेर महत्त्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएपछि अब थप अनुसन्धानको प्रकृतिबारे छलफल भइरहेको छ। ‘कागजपत्र नियन्त्रणमा लिएका छौं, आवश्यक परे पक्राउ गरेरै अनुसन्धान गर्नुपर्ने हुन सक्छ,’ स्रोतले जनाएको छ।

बानियाँ यसअघि ‘ए’ वर्गका ठेकेदारसमेत रहेको पृष्ठभूमिमा अवैध सम्पत्ति आर्जन तथा सम्पत्ति लुकाएको आशंकामा विभागले अनुसन्धान अघि बढाएको हो। सोही क्रममा हेटौँडाको सानोपोखरास्थित बानियाँ निर्माण सेवा (बीएनएस) कार्यालय र निवासमा छापा मारिएको छ।

त्यस्तै काठमाडौंको नक्साल र सुन्धारास्थित स्थानहरूमा समेत विभागले छानबिन गरेको जनाएको छ। छापामार कारबाहीका क्रममा विभिन्न कागजात र आर्थिक विवरणहरू संकलन गरिएको बताइएको छ।

नेपाली कांग्रेस का बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायमा सक्रिय थिए। हाल पनि विभिन्न व्यावसायिक कम्पनीहरूमा उनको लगानी रहेको विभागको प्रारम्भिक निष्कर्ष छ।

विभागले संकलित प्रमाणका आधारमा थप अनुसन्धान अघि बढाइने र आवश्यक परे कानुनी प्रक्रिया अनुसार कारबाही गरिने जनाएको छ।

१५ वर्षदेखि फरार अभियुक्तसहित चार जना पक्राउ

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहट ले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका चार जनालाई पक्राउ गरेको छ।

आइतबार खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान, सवारी ज्यान, बैंकिङ कसुर तथा लागूऔषध (गाँजा) सम्बन्धी मुद्दाका प्रतिवादीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा करिब १५ वर्षदेखि फरार रहेका देवाही गोनाही नगरपालिका–३ का ३९ वर्षीय राम विनय चौधरी पक्राउ परेका छन्। उनीमाथि २०६६ फागुन २६ गते एक व्यक्तिलाई कुटपिट गरी घाइते बनाएको र उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न रहेको आरोप छ।

त्यस्तै सवारी ज्यान मुद्दामा बौधीमाई नगरपालिका–६ का ३६ वर्षीय राम पुकार राय यादव पक्राउ परेका छन्। उनले चलाएको मोटरसाइकलको ठक्करबाट २०८१ पुस २ गते मौलापुर नगरपालिका–५ मा ६५ वर्षीय बनारसी राउत कुर्मीको मृत्यु भएको थियो।

बैंकिङ कसुर मुद्दामा माधवनारायण नगरपालिका–६ का ४१ वर्षीय जितेन्द्र कुमार जयसवाल पक्राउ परेका छन्। उनीविरुद्ध सर्लाही जिल्ला अदालत बाट पक्राउ पुर्जी जारी भएको थियो। उनलाई आवश्यक कारबाहीका लागि सर्लाही पठाइएको प्रहरीले जनाएको छ।

यस्तै लागूऔषध (गाँजा) मुद्दामा ६ महिना कैद सजाय सुनाइएका देवाही गोनाही नगरपालिका–९ का ६५ वर्षीय सिकेन्द्र राय यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार कर्तव्य ज्यान र सवारी ज्यान मुद्दाका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको छ भने अन्य प्रतिवादीलाई सम्बन्धित निकायमा पठाइएको छ।

विश्वकप लिग-२ : भोली ओमानसँग भिड्दै नेपाल

काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो घरेलु मैदानमा ओमानविरुद्ध महत्वपूर्ण खेल खेल्न लागेको हो।

शनिबारदेखि सुरु भएको सिरिजमा नेपालले युएईलाई लगातार दुई खेलमा पराजित गरेको थियो भने ओमानसँग भने हार बेहोरेको थियो।

लिग-२ मा हरेक खेलमा जित निकाल्नु नेपालका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ। आठ टोली सहभागी यो प्रतियोगितामा नेपाल हाल सातौँ स्थानमा रहेको छ।

नेपाल युएईभन्दा मात्र एक अंकले माथि रहेको अवस्थामा अंकतालिकामा सुधार गर्न यो खेल निर्णायक हुन सक्ने देखिन्छ।

कपिल शर्माको क्याफे बाहिर गोलीबारी,लरेन्स बिश्नोई ग्याङको हात ?

एजेन्सी। भारतका प्रसिद्ध कमेडियन कपिल शर्मा फेरि एक पटक चर्चामा आएका छन्। क्यानडाको सरेमा रहेको उनको ‘क्याप्स क्याफे’ नजिकै एउटा रेस्टुरेन्टमा गोलीबारीको घटना भएको छ, जसले उक्त क्षेत्रमा हल्लाखल्ला मच्चाएको छ।

सोशल मिडियामा भाइरल भइरहेका दाबीअनुसार, यस आक्रमणको पछाडि लरेन्स बिश्नोई ग्याङको हात रहेको बताइएको छ। केही पोस्टहरूमा कपिल शर्मालाई सीधै ज्यान मार्ने धम्की पनि दिइएको दाबी गरिएको छ। यद्यपि यी दाबीहरूको आधिकारिक पुष्टि अहिलेसम्म भएको छैन।

सोशल मिडियामा ‘टाइसन बिश्नोई जोरा सिद्धू’ नामको फेसबुक अकाउन्टबाट गरिएको पोस्ट तीव्र रूपमा भाइरल भइरहेको छ। उक्त पोस्टमा सरेस्थित चाइ सट्टा बारमा गोलीबारी भएको दाबी गरिएको छ। जुन कप्स क्याफे नजिकै पर्छ।

पोस्टमा कपिल शर्मा र क्याफे मालिकलाई चेतावनी दिँदै भनिएको छ कि उनीहरूले ‘समय खेर नफालून्’ र तिनका सर्तहरू स्वीकार गरून्। साथै यदि त्यसो नगरे क्याफे र मुम्बईस्थित उनको घरलाई पनि निशाना बनाइने संकेत गरिएको छ।

२०२५ देखि आक्रमणको सिलसिला जारी

यो पहिलो पटक होइन जब कपिल शर्माको क्याफेलाई निशाना बनाइएको हो। सन् २०२५ देखि यस्ता घटनाहरूको सिलसिला जारी रहेको छ।

  • १० जुलाई २०२५: क्याफे उद्घाटनको केही दिनपछि पहिलो पटक गोलीबारी
    ७ अगस्ट २०२५: एक महिनाभित्र दोस्रो आक्रमण
    १५–१६ अक्टोबर २०२५: तेस्रो पटक क्याफेमा गोलीबारी

तेस्रो आक्रमणपछि बिश्नोई नेटवर्कसँग जोडिएका व्यक्तिहरूले सामाजिक सञ्जालमा यसको जिम्मेवारी लिएको बताइएको छ।

सलमान खानसँग सम्बन्ध कारण?

ग्याङसँग सम्बन्धित दाबीअनुसार, कपिल शर्मालाई निशाना बनाउनुको कारण उनको सलमान खानसँगको सम्बन्ध हो भनिएको छ।

बताइन्छ कि ‘द ग्रेट इन्डियन कपिल शो’ को सुरुवातमा सलमान खानलाई बोलाएपछि यो असन्तुष्टि बढेको हो। ग्याङसँग जोडिएका एक सदस्यले पहिले पनि चेतावनी दिएका थिए । सलमान खानसँग काम गर्ने जो कोहीले परिणाम भोग्नुपर्नेछ।

बिश्नोई ग्याङ र सलमानबीचको विवाद सन् १९९८ को कालो हरिण शिकार मुद्दासँग जोडिएको छ। बिश्नोई समुदायले कालो हरिणलाई पवित्र मान्ने भएकाले यो विवाद लामो समयदेखि जारी छ।

यसै कारण ग्याङले सलमान खान र उनका नजिकका मानिसहरूलाई लगातार धम्की दिँदै आएको बताइन्छ।

आफ्नो फिल्म ‘किस किसको प्यार करूँ २’ को ट्रेलर लन्चको क्रममा कपिल शर्माले यी घटनाबारे चिन्ता व्यक्त गरेका थिए। उनले भनेका थिए कि उनलाई लाग्छ क्यानडाको कानून र प्रहरीले यस्ता घटनाहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्न सक्षम छैनन्।

यी आक्रमणपछि मुम्बई प्रहरीले सुरक्षाका कारण भारतमा उनको सुरक्षा व्यवस्था पनि बढाएको थियो।

३४ अंकले ओरालो लाग्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ३४.६३ अंकले घटेको छ। यससँगै नेप्से २७०४ अंकमा कायम भएको छ।

कारोबार सुरु भएको पहिलो १० मिनेटसम्म बजारले सामान्य वृद्धिको संकेत देखाए पनि त्यसपछि अन्त्यसम्म लगातार ओरालो लागेको थियो।

आजको गिरावटसँगै सेयर बजार लगातार चौथो कारोबार दिन घटेको हो। यसअघि मंगलबार २६ अंक, बुधबार २५ अंक र बिहीबार ५ अंकले बजार घटेको थियो भने शुक्रबार सार्वजनिक बिदाका कारण कारोबार भएको थिएन।

आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ४ अर्ब २६ करोडमा सीमित भयो। कुल २७ कम्पनीको मूल्य बढ्दा २४० कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो।

माइक्रोफाइनान्स बाहेक सबै समूहका सूचक घटेका छन्। माइक्रोफाइनान्स समूह भने करिब १ अंकमुनि हरियो रह्यो। जलविद्युत्, विकास बैंक र उत्पादन तथा प्रशोधन समूह २ प्रतिशतभन्दा बढीले घटे।

अन्य समूहहरूमा बैंकिङ ०.८६, विकास बैंक २.१४, फाइनान्स ०.९६, होटल तथा पर्यटन १.३५, जलविद्युत् २.२३, लगानी १.३६, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन २.५४, निर्जीवन बीमा ०.९३, अन्य ०.५० तथा व्यापार १.३८ प्रतिशतले घटेका छन्।

आजको कारोबारमा फर्वार्ड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। त्यसैगरी झापा इनर्जीको मूल्य ७.९९ प्रतिशतले बढेको छ। मूल्य वृद्धिमा ऋणपत्र अगाडि देखिएका छन्।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १२.५८ प्रतिशतले घटेको छ। माइखोला हाइड्रोपावर ८.५९, नारायणी डेभलपमेन्ट बैंक ८.५६ तथा साल्पा विकास बैंक ८.०१ प्रतिशतले घटेका छन्।

आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र एनआईसी एसिया बैंक रहेका छन्।

‘केटाकेटी सरकार’ भन्दै बालेन सरकारलाई गिज्याए हर्क साम्पाङले

काठमाडौं । ‘केटाकेटी सरकार’ भन्दै बालेन सरकारलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गिज्याएका छन् ।

बालेन सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलसमक्ष पुनः पठाएको विषयलाई लिएर तीव्र असन्तुष्टि जनाएका साम्पाङले अपरिपक्‍व राजनीतिक सस्कार देखाएको भन्दै बालेन सरकारलाई ‘केटाकेटी सरकार’ भनेका हुन् ।

अध्यादेश फिर्ता पठाउने राष्ट्रपतिको कदमको समर्थनमा रहेका उनले एकपटक अस्वीकार गरेपछि फेरि स्वीकार्ने भन्ने नहुने बताए ।

उनले लेखेका छन्, ‘केटाकेटी सरकार… अध्यादेश फेरि पठाएछ। यसपाली चाहिँ ललिपपसहित पठाएको हो र ? एक चोटि हुँदैन भनेपछि हुँदैन नि! ।’

साम्पाङले अध्यादेश पुनः पठाउने बालेन सरकारको निर्णयप्रति असहमति जनाएका हुन् । राजनीतिक वृत्तमा पनि राष्ट्रपतिबाट फिर्ता भएको अध्यादेश पुनः सोही रूपमा पठाइनु उपयुक्त हो वा होइन भन्ने बहस चलिरहेको छ।

 

सोबितालाई अघि राखेर सुहाङको प्रश्न- अध्यादेश किन ? (भिडियो)

काठमाडौं । नेकपा (एमाले) का युवा सांसद सुहाङ नेम्वाङले सरकारको कार्यशैलीप्रति कडा असन्तोष व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै नेम्वाङले स्पष्ट बहुमत भएको सरकारले संसद्लाई बाइपास गर्दै अध्यादेश ल्याउनु लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादाविपरीत भएको टिप्पणी गरे।

उनी भन्छन्, संसद् जनप्रतिनिधिको सर्वोच्च मञ्च हो र समितिहरू ‘मिनी पार्लियामेन्ट’ जस्तै हुन्, त्यसैले सरकारले पूर्ण रूपमा संसद्प्रति जवाफदेही हुनुपर्छ।

नेम्वाङले प्रश्न उठाए, ‘संसद्मा स्पष्ट बहुमत छ, सभामुख र समितिका सभापति समेत सत्ता पक्षकै छन्, त्यसो हुँदा पनि कानुन बनाउन ढिलाइ किन भयो? शासन संचालनको सहजताका नाममा अध्यादेशलाई नियमित विकल्प बनाउनु सरकार स्वेच्छाचारितातर्फ उन्मुख हुनु हो।’

अघिल्ला गल्तीलाई नजिर बनाएर आज पनि अध्यादेशको बाटो रोज्नु गलत भएको भन्दै उनले सरकारको शैलीमाथि गम्भीर प्रश्न उठाए।

यस्तै, काठमाडौं उपत्यका तथा देशका विभिन्न स्थानमा सुकुमबासी बस्ती हटाउने क्रममा सरकारले अमानवीय व्यवहार देखाएको दाबी गर्दै उनले चिन्ता व्यक्त गरे। सर्वोच्च अदालतले वैकल्पिक व्यवस्था बिना विस्थापन नगर्न भनेको आदेश सम्झाउँदै उनले भने, ‘नागरिकमाथि डोजर चल्दा, आमा बेहोस हुँदा, बालबालिका रुँदा राज्य अभिभावक बन्नुपर्छ। जसको कोही छैन, राज्य त्यही नागरिकको आधार हुनुपर्छ।’

हुकुमबासी र वास्तविक सुकुमबासी छुट्याउन नसकिँदा अन्याय अत्याचारमा बदलिन सक्ने उल्लेख गर्दै उनले नागरिकको आत्मसम्मानमाथि प्रहार भएपछि मनमा कहिल्यै निको नहुने घाउ बस्ने चेतावनी दिए।

२०४७ सालदेखि १९ वटा भूमि आयोग गठन भएर पनि समस्या समाधान हुन नसकेकाले अब स्थायी र दीर्घकालीन समाधान आवश्यक भएको उनको भनाइ छ।

इलामको उदाहरण दिँदै उनले भने, ‘मेरो जिल्लामा ७५ प्रतिशतभन्दा बढीका नाममा धनीपुर्जा छैन। के ती सबैलाई उठिबास गराउनु नै समाधान हो?’

सांसद नेम्वाङले सुकुमबासी समस्या समाधानका क्रममा नागरिकको सम्मान जोगाउँदै, संविधानको मर्यादा कायम राख्दै र मानवीय ढंगले वैकल्पिक व्यवस्थासहित अघि बढ्न सरकारलाई आग्रह गरे।

घरबारविहीन बनाएर होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरूको वास्तविक अवस्था बुझ्न समितिका सदस्यहरूले स्थलगत अनुगमन गर्नुपर्ने आवश्यकता उनले औंल्याए।

इन्टर मिलानले जित्यो २१ औँ पटक सिरी-एको उपाधि

एजेन्सी। इटालियन सिरी ‘ए’ प्रतियोगिता अन्तर्गत पार्मालाई २-० ले पराजित गर्दै इन्टरले सिजनको अन्त्य हुन तीन खेल बाँकी रहँदै नै उपाधि सुनिश्चित गरेको छ।

मार्कुस थुरामले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए भने हेनरिख मिखितारियनले खेल सकिन १० मिनेट बाँकी रहँदा अर्को गोल गर्दै जित सुनिश्चित गरे। यस जितसँगै इन्टरले ८२ अंकसहित आफ्नो २१औँ सिरी ‘ए’ उपाधि (स्कुडेटो) जितेको हो।

दोस्रो स्थानमा रहेको नापोलीले शनिबार कोमोविरुद्ध ०-० को बराबरी खेलेपछि इन्टरलाई एक अंक मात्र पर्याप्त हुने अवस्था बनेको थियो। तर इन्टरले जित निकाल्दै १२ अंकको अपराजेय अग्रता बनाउँदै उपाधि पक्का गर्‍यो।

खेलमा स्पष्ट गोल अवसर सीमित भए पनि इन्टरले पहिलो हाफभर खेल नियन्त्रणमा राखेको थियो र पार्माको क्षेत्रमा दबाब कायम राखेको थियो।

दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरताले अर्थतन्त्र प्रभावित : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा अपेक्षित सुधार नदेखिनुको मुख्य कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता भएको बताएका छन्।

महासंघको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्ला वर्षहरूमा सरकार र गठबन्धन बारम्बार परिवर्तन हुँदा नीतिगत निरन्तरता कमजोर बनेको उल्लेख गरे। उनका अनुसार, ‘सरकार फेरिँदा नीति र प्राथमिकता पनि फेरिन्छन्, जसले राम्रा कार्यक्रमसमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन पाउँदैनन्।’

श्रेष्ठले अहिलेको अवस्थालाई अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउँदै स्थिर सरकार भए नीतिगत स्थायित्व आउने विश्वास व्यक्त गरे। निजी क्षेत्रले अर्थतन्त्रको ठूलो हिस्सा धानेको उल्लेख गर्दै उनले सरकारसँग सहकार्यको वातावरण आवश्यक रहेकोमा जोड दिए।

उनले आगामी तीन वर्षका लागि पाँच प्राथमिकता सार्वजनिक गर्दै निजी क्षेत्र र सरकारबीचको सम्बन्ध पुनःपरिभाषित गर्ने प्रतिबद्धता जनाए। नीति निर्माण, बजेट, कानुन तथा अन्तर्राष्ट्रिय वार्तामा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने उनको भनाइ छ।

निजी क्षेत्रप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न अभियान सञ्चालन गरिने, लगानी सुरक्षा सुनिश्चित गरिने तथा व्यावसायिक विवाद समाधान प्रणाली सुधार गरिने उनले बताए। साथै, स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका लागि सरकारसँग नियमित संवाद गरिने पनि उनले उल्लेख गरे।

श्रेष्ठले महासंघलाई स्थानीय तहसम्म प्रभावकारी बनाउने योजना पनि सार्वजनिक गरे। आर्थिक सुधार, सुशासन, प्रतिस्पर्धात्मकता, श्रम–सीप विकास र संस्थागत सुदृढीकरणमा केन्द्रित कार्ययोजना अघि सारिएको उनले जानकारी दिए।

उनले सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको भन्दै आर्थिक रूपान्तरण संयुक्त प्रयासबाट मात्र सम्भव हुने धारणा व्यक्त गरे।

गुगलले भारतमा ‘एआई हब’ बनाउन किन खन्यायो पैसा ?

एजेन्सी। विशाखापट्टनम (भारत) । भारतलाई विश्वकै प्रमुख प्रविधि केन्द्र बनाउने लक्ष्यसहित अमेरिकी टेक कम्पनी गुगलले आन्ध्र प्रदेशको विशाखापट्टनममा आफ्नो सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हब निर्माण कार्य सुरु गरेको छ।

यो परियोजना संयुक्त राज्य अमेरिका बाहिरको गुगलको सबैभन्दा ठूलो एआई पूर्वाधार आयोजना मानिएको छ। करिब १५ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक लगानी भित्र्याउने यस परियोजनाले भारतको डिजिटल अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

विशेष समारोहबीच सुरु गरिएको यो डाटा सेन्टर हबले आन्ध्र प्रदेशलाई विश्वव्यापी एआई इकोसिस्टमको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ। परियोजना एडानी कनेक्ट्स र एयरटेलजस्ता भारतीय ठूला कम्पनीहरूको साझेदारीमा विकास भइरहेको छ।

गिगावाट-स्तरको कम्प्युटिङ क्षमता रहने यो हबले ठूला एआई मोडेलहरूको प्रशिक्षण तथा व्यावसायिक प्रयोगका लागि आवश्यक उच्च-प्रदर्शन कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउनेछ। यसले भारतमा एआई प्रविधिको विकास र प्रयोगलाई तीव्र बनाउने अपेक्षा गरिएको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार यो परियोजनाले स्थानीय स्तरमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने मात्र नभई क्षेत्रीय आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

गुगलले यो केन्द्रलाई वातावरणमैत्री बनाउन नवीकरणीय ऊर्जा र ऊर्जा भण्डारण प्रणालीमा आधारित ‘ग्रिन डाटा सेन्टर’ अवधारणा अपनाएको छ। यसले ऊर्जा खपत घटाउने र दिगो प्रविधि विकासलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

विश्वभर एआई प्रविधिको प्रतिस्पर्धा तीव्र भइरहेका बेला गुगलको यो ठूलो लगानीले भारतलाई विश्व प्रविधि क्षेत्रको नयाँ ‘पावरहाउस’ बनाउन सहयोग पुग्ने विश्लेषकहरूको धारणा छ।

विवादित व्यावसायी भट्टलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

भट्टकी पत्नी आयुस्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले उक्त आदेश जारी गरेको हो।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउने आदेशसँगै भट्टलाई अदालतमा प्रस्तुत गराउन निर्देशन दिएको छ।

भट्टलाई चैत १९ गते सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ।

अवैध सम्पत्ति लुकाएको आशंकामा विभागले सोमबार यो कारबाही गरेको हो।

हेटौंडाको सानोपोखरास्थित बानियाँ निर्माण सेवा (बीएनएस) र त्यही क्षेत्रमा रहेको उनको निवासमा छापा मारेर विभागले विभिन्न कागजातहरू बुझेर लगेको स्रोतले जनाएको छ।

यस्तै, काठमाडौंको नक्साल र सुन्धारामा समेत विभागले छापा मारेको बताइएको छ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायसँग सक्रिय रूपमा आबद्ध थिए।

हाल पनि उनी विभिन्न व्यावसायिक कम्पनीहरूमा लगानीकर्ता रहेको स्रोतहरूको दाबी छ।

नेपालमा के छ गर्भपतन कानून ?

काठमाडौं। नेपालमा गर्भपतनसम्बन्धी कानूनी व्यवस्था पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा परिवर्तन हुँदै अत्यन्तै प्रगतिशील दिशातर्फ अघि बढेको छ। कुनै समय मुलुकी ऐनअन्तर्गत गर्भपतनलाई ‘फौजदारी अपराध’का रूपमा हेरिन्थ्यो। यसका लागि महिलाले कानुनी कारबाही तथा जेल सजायसम्म भोग्नुपर्ने अवस्था थियो। तर समयसँगै सामाजिक सोच, मानवअधिकारको अवधारणा र स्वास्थ्य नीतिमा आएको परिवर्तनले गर्भपतनलाई अपराध नभई, महिलाको मौलिक प्रजनन स्वास्थ्य अधिकारका रूपमा स्थापित गरेको छ।

नेपालको संविधानले महिलाको प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरेको छ। त्यसैअनुसार ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ ले गर्भपतनलाई महिलाको शरीर, स्वास्थ्य र भविष्यसँग सम्बन्धित व्यक्तिगत निर्णयका रूपमा परिभाषित गरेको छ।

उक्त ऐनले महिलालाई आफ्नो स्वास्थ्य अवस्थाअनुसार निश्चित सर्तहरू पूरा गरी सुरक्षित गर्भपतन सेवा लिन सक्ने कानुनी अधिकार प्रदान गरेको छ। यसले राज्यलाई सेवा उपलब्ध गराउने, पहुँच सुनिश्चित गर्ने र सुरक्षित वातावरण निर्माण गर्ने दायित्व पनि स्पष्ट रूपमा तोकेको छ।

कानुनी व्यवस्थाअनुसार सामान्य अवस्थामा महिलाको इच्छामा १२ हप्तासम्मको गर्भपतन गराउन पाइन्छ। त्यस्तै विशेष परिस्थितिमा २८ हप्तासम्मको गर्भपतन अनुमति दिइएको छ। यसमा बलात्कार वा हाडनाता करणीबाट भएको गर्भ, गर्भवती महिलाको ज्यान वा शारीरिक-मानसिक स्वास्थ्यमा गम्भीर जोखिम हुने अवस्था,भ्रूणमा गम्भीर जन्मजात समस्या देखिएको अवस्था, वा एचआईभी जस्ता गम्भीर र निको नहुने रोग भएको अवस्था समावेश छन्।

यसरी हेर्दा नेपालले गर्भपतनलाई केवल स्वास्थ्य सेवा मात्र नभई मानवअधिकार र सामाजिक न्यायसँग जोडेर हेरेको स्पष्ट देखिन्छ।

यस कानुनी संरचनाले महिलाको स्वतन्त्र निर्णय अधिकारलाई मान्यता दिएको भए पनि यसको कार्यान्वयन र सेवा प्रवाहको अवस्था अझै पूर्ण रूपमा सन्तोषजनक छैन।

सेवा कहाँ र कसरी पाइन्छ?

नेपालमा सुरक्षित गर्भपतन सेवा सरकारले मान्यता दिएका (सूचीकृत) स्वास्थ्य संस्थाहरूबाट उपलब्ध हुन्छ। यस्ता सेवाहरू सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा अनुमति प्राप्त निजी क्लिनिकहरूमा प्रदान गरिन्छन्।

अधिकांश अवस्थामा सरकारी स्वास्थ्य संस्थामा यो सेवा निःशुल्क वा न्यून शुल्कमा उपलब्ध हुन्छ। सेवा लिन चाहने महिलाले सम्बन्धित स्वास्थ्य संस्थामा गई परामर्श लिनुपर्ने हुन्छ। प्रशिक्षित स्वास्थ्यकर्मीले गर्भको अवस्था, अवधि र स्वास्थ्य स्थितिका आधारमा औषधि वा उपकरणमार्फत सुरक्षित रूपमा गर्भपतन सेवा प्रदान गर्छन्।

साथै, सेवा गोपनीय राख्ने व्यवस्था पनि गरिएको हुन्छ। ताकि सेवाग्राहीले बिना डर र दबाब सुरक्षित रूपमा आफ्नो अधिकार प्रयोग गर्न सकून्।

व्यवहारमा किन समस्या?

नेपालमा गर्भपतनसम्बन्धी कानुन प्रगतिशील भए पनि व्यवहारमा यसको कार्यान्वयन चुनौतीपूर्ण देखिन्छ। मुख्य समस्या सेवा पहुँचको असमानता हो। शहरी क्षेत्रमा सुरक्षित सेवा उपलब्ध भए पनि ग्रामीण र दुर्गम क्षेत्रमा पर्याप्त स्वास्थ्य संस्था र दक्ष जनशक्ति अभाव कायमै छ।

सामाजिक लाञ्छना र गोपनीयता भंग हुने डरका कारण धेरै महिलाहरू सरकारी सेवा छोडेर अनधिकृत निजी क्लिनिक वा फार्मेसीतर्फ जाने गर्छन्। साथै, सूचीकृत नभएका संस्थाहरूको नियमन कमजोर हुँदा असुरक्षित अभ्यासहरू अझै पनि चलिरहेका छन्।

स्थानीय तहमा निगरानी र कार्यान्वयन क्षमता कमजोर भएकाले कानुनले दिएको अधिकार व्यवहारमा पूर्ण रूपमा लागू हुन सकेको छैन। जसले असुरक्षित गर्भपतनको जोखिम अझै कायम राखेको छ।

‘गोपनीयता’ र ‘सुरक्षा’ बीचको द्वन्द्व

नेपालमा सुरक्षित गर्भपतन सेवाको सन्दर्भमा ‘गोपनीयता’ र ‘सुरक्षा’ बीचको द्वन्द्व एउटा प्रमुख चुनौतीका रूपमा देखिएको छ। कानुनले सरकारी तथा सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित र निःशुल्क सेवा उपलब्ध गराएको भए पनि धेरै महिलाहरू सामाजिक डर, लाज र समुदायको नकारात्मक दृष्टिकोणका कारण यी संस्थाहरूमा जान हिच्किचाउँछन्।

उनीहरूलाई आफ्नो गर्भपतनको जानकारी अरूलाई थाहा हुने, सामाजिक बहिष्कार वा आलोचनाको सामना गर्नुपर्ने डरले ग्रस्त बनाउँछ। यही कारणले गर्दा धेरै महिलाहरू गोपनीयता सुरक्षित हुने आशामा निजी क्लिनिक, फार्मेसी वा सूचीकृत नभएका स्वास्थ्य प्रदायकहरूतर्फ आकर्षित हुन्छन्। जहाँ सेवा गोप्य हुने विश्वास गरिन्छ। तर यस्तो छनोटले उनीहरूलाई सुरक्षित स्वास्थ्य प्रक्रियाबाट टाढा पुर्‍याउने र जीवन नै जोखिममा पार्ने अवस्था सिर्जना गर्छ।

अर्कोतर्फ, सरकारी स्वास्थ्य संस्थाहरूमा सेवा तुलनात्मक रूपमा सुरक्षित भए पनि सेवा लिने क्रममा पहिचान खुल्ने डर, कर्मचारीको व्यवहार, र सामाजिक पूर्वाग्रहको सम्भावनाले महिलाहरूलाई असहज बनाउँछ। विशेषगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरूका लागि समुदाय सानो हुने भएकाले गोपनीयता कायम राख्नु अझ कठिन हुने समस्या रहेको छ।

यसरी गोपनीयता खोज्ने प्रयासले सुरक्षा घटाउने र सुरक्षा खोज्दा गोपनीयता गुम्ने अवस्था सिर्जना भएको छ। यही असन्तुलनका कारण धेरै महिलाहरू जोखिमपूर्ण विकल्प रोज्न बाध्य भइरहेका छन्। जसले असुरक्षित गर्भपतन र मातृ मृत्युदरलाई अझै कायम राखेको देखिन्छ।

समाधान 

यस समस्याको समाधानका लागि सबैभन्दा पहिले सेवा पहुँच विस्तार गर्न आवश्यक छ। प्रथमत: ग्रामीण र दुर्गम क्षेत्रमा सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्य संस्था, दक्ष स्वास्थ्यकर्मी र औषधिको उपलब्धता सुनिश्चित गर्नुपर्छ।

दोस्रो, गोपनीयता र मर्यादाको ग्यारेन्टी मजबुत बनाउनुपर्छ। सेवा लिने महिलाको जानकारी पूर्ण रूपमा सुरक्षित राखिने, र उनीहरूलाई सामाजिक डर बिना सेवा लिन सक्ने वातावरण निर्माण गर्न आवश्यक छ।

तेस्रो, अनधिकृत क्लिनिक र फार्मेसीमाथि कडा अनुगमन र कानुनी कारबाही हुनुपर्छ। सूचीकृत नभएका ठाउँमा गर्भपतन सेवा दिने कार्यलाई कडाइका साथ नियन्त्रण गर्नुपर्छ।

चौथो, स्थानीय तहको क्षमता विकास गर्नुपर्छ। जनशक्ति तालिम, बजेट व्यवस्थापन र स्वास्थ्य प्रणाली सुदृढीकरण गरेर सेवा कार्यान्वयनलाई प्रभावकारी बनाउन सकिन्छ।

पाँचौँ, जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक छ। सुरक्षित गर्भपतन कानुनी अधिकार हो भन्ने कुरा समुदायसम्म पुर्‍याउन सके सामाजिक लाञ्छना घटाउन मद्दत गर्छ।

अन्ततः नेपालमा गर्भपतनसम्बन्धी कानुन विश्वमै प्रगतिशीलमध्ये एक मानिए पनि यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको छ। कानुनले महिलालाई सुरक्षित र सम्मानजनक रूपमा आफ्नो प्रजनन स्वास्थ्यसम्बन्धी निर्णय गर्ने अधिकार दिएको भए पनि व्यवहारमा सेवा पहुँच, सामाजिक लाञ्छना, गोपनीयताको डर र कमजोर नियमनका कारण धेरै महिलाहरू अझै असुरक्षित विकल्प रोज्न बाध्य छन्।

यसले कानुन र व्यावहारिकताबीचको गहिरो खाडललाई प्रस्ट देखाउँछ। अबको आवश्यकता भनेको कानुनी व्यवस्था मात्र नभई, त्यसलाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्नु हो। सुरक्षित सेवा सबै महिलाका लागि सहज, गोप्य र पहुँचयोग्य बनाउन सके मात्र असुरक्षित गर्भपतन र त्यसबाट हुने जोखिमपूर्ण मृत्युहरू घटाउन सकिन्छ।

महिलाको स्वास्थ्य, सम्मान र अधिकार सुनिश्चित गर्ने दिशामा राज्य, स्वास्थ्य प्रणाली र समाज सबैको संयुक्त जिम्मेवारी अपरिहार्य छ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५

काठमाडौं आएर बालेनलाई हर्कले भने- ‘हुकुम्बासीलाई कारबाही गर्नुहोस्’ (भिडियो)

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले नक्कली सुकुम्वासीको पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सोमबार थापाथलीस्थित सरकारले भत्काएको सुकुम्वासी बस्तीमा पुगेर साम्पाङले नक्कली सुकुम्वासीका कारण वास्तविक भूमिहीन तथा सुकुम्वासीहरू समस्यामा परेको भन्दै यस्तो माग गरेका हुन्।

उनका अनुसार केही व्यक्तिहरूले सुकुम्वासीको नाममा सरकारी जग्गा कब्जा गर्ने मात्र होइन। भाडामा लगाएर आर्थिक लाभ समेत लिइरहेको देखिएको छ। यस्ता गतिविधिमा संलग्नलाई छानबिन गरी कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।

साम्पाङले बस्ती हटाउनुअघि वास्तविक सुकुम्वासीको स्पष्ट पहिचान नगरी एक्कासि डोजर चलाउँदा वास्तविक पीडित थप संकटमा परेको टिप्पणी गरे। ‘गरिब जनतालाई विस्थापित गर्नु समाधान होइन।’,उनले भने, ‘उनीहरूको जीवन सुरक्षित हुने गरी सरकारले दीर्घकालीन व्यवस्थापन गर्नुपर्छ।’

उनले सरकारलाई नागरिकको अधिकारलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप संवेदनशील र व्यवस्थित कदम चाल्न पनि सुझाव दिएका छन्।

साम्पाङले वास्तविक भूमिहीनको पहिचान, पुनःस्थापना र सामाजिक सुरक्षाको सुनिश्चितता राज्यको जिम्मेवारी भएको उल्लेख गर्दै यस विषयमा तत्काल सुधार आवश्यक रहेको बताए।

बालेन क्याबिनेट बैठक : यस्ता छन् निर्णय

काठमाडौं। सरकारले सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू जानकारी गराएका हुन्।

बैठकले संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन अध्यादेश पुनः राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सरकारका अनुसार उक्त अध्यादेश यसअघि राष्ट्रपति कार्यालयबाट पुनर्विचारका लागि फिर्ता भएको थियो। प्रवक्ता पोखरेलले यसपटक पनि कुनै परिमार्जन नगरी पुरानै स्वरूपमा पुनः सिफारिस गरिएको स्पष्ट पारे।

त्यस्तै बैठकले सिंहदरबार परिसरको परिमार्जित गुरु योजना स्वीकृत गरेको छ। सो योजनामा संसद भवन परिसरमा प्रवेश तथा व्यवस्थापन सम्बन्धी प्रावधानहरू पनि समावेश गरिएको जनाइएको छ।

कृषि क्षेत्रका लागि सरकारले भारतसँग सरकारी-सरकारी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिएको छ।

ऊर्जा र उद्योग क्षेत्रसँग सम्बन्धित अर्को निर्णयमा परम्परागत बॉयलरलाई विद्युतीय (इलेक्ट्रोनिक) बॉयलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय भएको छ।

त्यसैगरी वायु गुणस्तर मापन क्षमता विस्तारका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

पत्रकार सम्मेलनमा प्रवक्ता पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पार्दै यस विषयमा नेपाल सरकारको अडान प्रष्ट रहेको बताए। अन्य सीमा विवादका विषयमा सम्बन्धित देशहरूसँग कूटनीतिक छलफलमार्फत समाधान खोजिने उनले उल्लेख गरे।

सहकारी ठगीमा संग्लग्न व्यक्ति उम्मेदवार बन्न नपाउने रास्वपाको नियम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी, मिटरब्याजी तथा अवैध आर्थिक गतिविधिमा संलग्न व्यक्तिलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार नबनाउने नीति सार्वजनिक गरेको छ। स्थानीय तहका उम्मेदवार छनोटका लागि जारी गरिएको नयाँ रुपरेखामा यो व्यवस्था गरिएको हो ।

रुपरेखामा उम्मेदवारहरूले मिटरब्याजी, सट्टेबाजी, हप्ताअसुली, ढुकुटी, हुण्डी कारोबार वा सहकारी संस्थाको बचत अपचलन जस्ता कुनै पनि गैरकानुनी वा अनौपचारिक आर्थिक क्रियाकलापमा प्रत्यक्ष वा परोक्ष संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने उल्लेख छ।

स्थानिय तहका उम्मेदवारका लागि यो नियम बनाइरहदा पार्टीका सभापति रवि लामिछानेमाथि नै सहकारी ठगी र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा विभिन्न जिल्लामा विचाराधीन छन्। कास्की, चितवन, पर्सा, काठमाडौँ र रुपन्देहीमा उनीविरुद्ध उजुरी दर्ता छन्। तल्लो तहका उम्मेदवारमा कडा मापदण्ड बनाउने रास्वपाले आफ्नै नेतृत्वको मुद्दा भने बेवास्ता गरेको छ।

स्थानीय तहको उम्मेदवार बन्न क्यान्डिडेट क्लबमा तोकिएका संवैधानिक तथा कानुनी योग्यता अनिवार्य छन्। उम्मेदवार २१ वर्ष उमेर पूरा भएको र सम्बन्धित पालिकाको मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्नेछ।

पार्टीले तोकेको अतिरिक्त योग्यता अनुसार उम्मेदवारले सुशासन, पारदर्शिता र नागरिक उत्तरदायित्वको मूल मर्मप्रति पूर्ण प्रतिबद्धता जनाउनुपर्नेछ। साथै, पार्टीको विधान, प्रस्तावना तथा मूल्य मान्यताप्रति स्पष्ट आस्था राख्नु पर्ने उल्लेख छ।

उम्मेदवारले अन्य कुनै दलको सदस्यता राखेको भए त्यसलाई विधिवत् त्याग गरिसकेको हुनुपर्नेछ। साथै, कार्यसम्पादन मूल्यांकन प्रणाली स्वीकार गर्ने र छनोट प्रक्रियामा पूर्ण रूपमा सहभागी हुने प्रतिवद्धता समेत आवश्यक छ।

पार्टी विधानअनुसार उम्मेदवारले माग गरिएका सबै कागजात अद्यावधिक सम्पत्ति विवरण, प्रहरी चरित्र प्रमाणपत्र आदि पेश गर्न मञ्जुर हुनुपर्नेछ। यसैमा उम्मेदवारको सबै शैक्षिक प्रमाणपत्र सक्कली रहेको र प्रमाणीकरण गर्दा प्रमाणित हुने स्वघोषणा पनि जोडिएको छ।

वैवाहिक अवस्थासम्बन्धी स्पष्टता पनि अनिवार्य गरिएको छ। उम्मेदवारले आफ्नो पारिवारिक तथा वैवाहिक स्थिति कानुनसम्मत र विवादरहित रहेको स्वघोषणा गर्नुपर्नेछ।

दुर्व्यवहार तथा डिजिटल अपराधसम्बन्धी मापदण्डमा, उम्मेदवार कुनै पनि प्रकारको घरेलु हिंसा, यौन दुर्व्यवहार, सार्वजनिक स्थलमा अमर्यादित व्यवहार वा साइबर बुलिइङ, अनलाइन ठगी जस्ता गतिविधिमा संलग्न नभएको घोषणा गर्नुपर्नेछ।

वित्तीय र आर्थिक शुद्धताको भागमा, उम्मेदवारले मिटरब्याज, हुण्डी, सट्टेबाजी, ढुकुटी वा सहकारी अपचलनसम्बन्धी कुनै पनि कारोवारमा सहभागी नरहेको स्वघोषणा गर्नुपर्नेछ।

स्वार्थ बाझिने अवस्थाबारे पनि पार्टीले स्पष्टता मागेको छ। उम्मेदवारले आफूले उम्मेदवारी दिन लागेको पालिकामा निर्माण, ठेक्का, खरिद वा उपभोक्ता समितिमा आफू वा परिवारको व्यवसायिक संलग्नता भए नभएको तथ्य प्रस्तुत गर्नुपर्नेछ।

त्यस्तै, विचाराधीन मुद्दा तथा कानुनी विवादसम्बन्धी विवरण पनि खुलाउनुपर्नेछ। यदि अदालत वा अन्य न्यायिक/अर्धन्यायिक निकायमा फौजदारी, ठगी, भ्रष्टाचार वा गम्भीर देवानी मुद्दा चलिरहेको भए सोको यथार्थ स्थिति उल्लेख गर्नुपर्ने मापदण्ड राखिएको छ।

रास्वपाले स्थानीय तहका उम्मेदवारका लागि कडा र विस्तृत मापदण्ड प्रस्तुत गरे पनि आफ्नै शीर्ष नेतृत्वमाथि उठेका मुद्दा भने उस्तै गरी प्राथमिकतामा परेको देखिन्न, जसले यसको नैतिकतामाथि प्रश्न उठाइरहेको छ।

विज्ञान-प्रविधि मन्त्रालय खारेज गर्न खोजेको भन्दै बालेन सरकारमाथि खनिए महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद महावीर पुनले वर्तमान सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई उपेक्षा गर्न खोजेको भन्दै कडा असन्तुष्टि जनाएका छन्।

पूर्व शिक्षामन्त्रीसमेत रहेका पुनले विज्ञान तथा प्रविधि मन्त्रालयको अस्तित्व नै कमजोर पार्ने र नवप्रवर्तनलाई उद्योग मन्त्रालयअन्तर्गत सीमित गर्ने प्रयास भइरहेको आरोप लगाएका हुन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्।

उनले लेखेका छन्, ‘सामाजिक सञ्जाल हेर्दा अहिलेको सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनमा गम्भीरता देखाउने संकेत देखिँदैन। बरु नवप्रवर्तनलाई उद्योग मन्त्रालयमा सीमित गर्ने र विज्ञान तथा प्रविधि मन्त्रालय नै कमजोर बनाउने प्रयास भइरहेको जस्तो लाग्छ।’

पुनका अनुसार नवप्रवर्तन कुनै एक मन्त्रालय वा क्षेत्रभित्र मात्र सीमित हुने विषय होइन। उनका अनुसार यो राजनीति, प्रशासन, सुशासन, स्वास्थ्य, कृषि, शिक्षा, व्यापारदेखि विज्ञान, प्रविधि, जीवन विज्ञान, कला र साहित्यसम्म सबै क्षेत्रमा फैलिने बहुआयामिक प्रक्रिया हो।

उनले सरकारलाई विज्ञान र अनुसन्धानलाई प्राथमिकता दिन र मन्त्रालय गाभ्ने वा कमजोर बनाउने खालका निर्णय नगर्न चेतावनीसमेत दिएका छन्। व्यंग्यात्मक शैलीमा उनले लेखेका छन्, ‘मेरो टाउको फोड्नु नपरोस् है सरकारका साथीहरू।’

पुनले लामो समयदेखि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तीमा १ प्रतिशत बजेट अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा छुट्याउनुपर्ने माग गर्दै आएका छन्। उनका अनुसार देशको दीर्घकालीन विकासका लागि विज्ञान-प्रविधिमा लगानी अपरिहार्य छ।

सात पूर्वराजदूतहरू एकै स्वर : चीनसँग कूटनीतिक पहलमा जोड

काठमाडौं। चीनका लागि नेपालका सात पूर्वराजदूतहरूले लिम्पियाधुरा क्षेत्रबारे सरकारले हालै जारी गरेको वक्तव्यको समर्थन गर्दै सराहना गरेका छन्।

सोमबार जारी संयुक्त वक्तव्यमा उनीहरूले लिम्पियाधुरा नेपालको अभिन्न भू-भाग भएको स्पष्ट गर्दै मित्र राष्ट्र चीन र भारत दुवै नेपालप्रति सार्वभौमिक सम्मानका साथ संवेदनशील रहने विश्वास व्यक्त गरेका छन्। पूर्वराजदूतहरूले सरकारको हालैको कूटनीतिक अभिव्यक्तिलाई सकारात्मक र आवश्यक कदमको रूपमा मूल्यांकन गरेका हुन्।

संयुक्त वक्तव्य जारी गर्नेमा पूर्वराजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टङ्क कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओली रहेका छन्। उनीहरूले नेपाल-चीन दौत्य सम्बन्ध ७० वर्ष पुगेको अवसरमा यो धारणा सार्वजनिक गरेका हुन्।

वक्तव्यमा नेपालले लामो समयदेखि अवलम्बन गर्दै आएको ‘एक चीन नीति’ प्रति आफ्नो दृढ प्रतिबद्धता पुनः स्मरण गरिएको छ। साथै, नेपालको भूमि कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन नदिने अडानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।

पूर्वराजदूतहरूले वर्तमान भू-राजनीतिक परिस्थितिमा नेपालले आफ्नो सीमा सुरक्षा र सार्वभौमिकताको रक्षा गर्न तत्काल र प्रभावकारी कूटनीतिक पहल अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

त्यस्तै, नेपाल–चीनबीचका बीआरआईलगायत आर्थिक, सांस्कृतिक, शैक्षिक तथा विकास साझेदारीका परियोजनाहरूलाई शीघ्र कार्यान्वयनमा लैजानुपर्ने सुझाव पनि उनीहरूले दिएका छन्।

पूर्वराजदूत महेश मास्केका अनुसार बैठकमा सहभागी सबैले यी परियोजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन नेपालले सक्रिय भूमिका खेल्नुपर्नेमा एकमत व्यक्त गरेका थिए।

पूर्वराजदूतहरूको यो सामूहिक धारणा नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ बनाउन कूटनीतिक पहल आवश्यक रहेको सन्देशका रूपमा लिइएको छ।

बस्नेतसहित २१ जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-२६ पवित्रनगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २२० ट्याब्लेटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नयाँ बसपार्क बस्ने झापा घर भएका ३३ वर्षीय सबिन बस्नेत, काठमाडौं सामाखुशी बस्ने मोरङ घर भएका २१ वर्षीय आयुष लिम्बु र काठमाडौं पवित्रनगर बस्ने दोलखा घर भएका १८ वर्षीय किशोर रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं कीर्तिपुर नगरपालिका-१० बाट ट्रामाडोल १४० ट्याब्लेट, नाइट्राभेट २ ट्याब्लेट र नगद १,४०० रुपैयाँसहित सोही ठाउँ चिलन्चो बस्ने २९ वर्षीय योगेन्द्र महर्जन सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरी चौकी कीर्तिपुरले नियन्त्रणमा लिएको हो ।

बाराको जीतपुरसिमरा-१ पथलैया चोकबाट करिब २१ किलो गाँजासहित मकवानपुर घर भएका १७ वर्षीय किशोरसहित २ जनालाई आइतबार राति पक्राउ गरिएको छ । हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको स्कुटर जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

पाल्पाको तानसेन नगरपालिका-९ अम्लिहानबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २९० मिलिग्राम र नगद ११,६१० रुपैयाँसहित माथागढी गाउँपालिका-३ का ३३ वर्षीय प्रेमबहादुर राना र २६ वर्षीय आशिष राना पक्राउ परेका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन एम्पुलसहित लमजुङ राइनास नगरपालिका–९ का २९ वर्षीय सुमन तामाङ पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको माइक्रोमा फेला पारिएको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका-६ खैरेनाबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २२ वर्षीय शिवकुमार राना पक्राउ परेका छन् । त्यस्तै बेलडाँडी नगरपालिका–५ झिलमिलाबाट ब्राउनसुगरसहित २९ वर्षीय रामबहादुर कठायत र ३३ वर्षीय हर्कबहादुर बुढा पक्राउ परेका छन् ।

कैलालीको टीकापुर नगरपालिका–७ खैरीपुरबाट खैरो हेरोइनसहित ३२ वर्षीय श्यामबहादुर चौधरी र २५ वर्षीय भानु गिरी पक्राउ परेका छन् । त्यस्तै धनगढी उपमहानगरपालिका–८ भगत चोकबाट ब्राउनसुगरसहित ४० वर्षीय राजाराम चौधरी र २४ वर्षीय शंकर चौधरी पक्राउ परेका छन् ।

मोरङ सुन्दरहरैँचा नगरपालिका-८ बाट करिब २ किलो ५ सय ग्राम गाँजासहित ८० वर्षीय चन्द्रबहादुर बिष्ट पक्राउ परेका छन् । घर तलासीका क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

सुनसरी इटहरी उपमहानगरपालिका-१७ पकलीबाट ब्राउनसुगरसहित २६ वर्षीय प्रकाश भुजेल पक्राउ परेका छन् ।

सिराहा धनगढीमाई नगरपालिका-५ तेतिस विगहाबाट खैरो हेरोइन ८ ग्राम र डिजिटल तराजुसहित २० वर्षीय भरत कुमार मण्डल र २१ वर्षीय जिवछ साफी पक्राउ परेका छन् । उनीहरूले प्रयोग गरेको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि लागूऔषध सम्बन्धी कानुनी कारबाही अघि बढाइएको छ र थप अनुसन्धान भइरहेको छ।

आइतबार बिदा : सरकारी अस्पतालमा लाग्यो सर्वसाधारणको भीड (तस्वीरहरू)

काठमाडौं। सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार विभिन्न सरकारी अस्पतालका बहिरङ्ग (ओपीडी) सेवामा बिरामीको चाप अत्यधिक बढेको छ।

पछिल्लो समय विश्वव्यापी रूपमा देखिएको इन्धन अभावको असर व्यवस्थापन गर्न सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सो निर्णयपछि सोमबार एकैदिन धेरै बिरामी सेवा लिन अस्पताल पुगेका कारण भीड बढेको हो।

राजधानीका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर लगायतका ठूला सरकारी अस्पतालमा बिहानैदेखि लामो लाइन देखिएको छ। सामान्य स्वास्थ्य जाँचदेखि जटिल रोगको उपचारसम्मका लागि एउटै सरकारी प्रणालीमा निर्भर रहनुपर्ने बाध्यताले सेवा लिनेहरूको संख्या बढिरहेको चिकित्सकहरू बताउँछन्।

स्वास्थ्यकर्मीका अनुसार एक चिकित्सकले दैनिक करिब १०० देखि १५० जना बिरामी हेर्नुपर्ने अवस्था छ। जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा धेरै बढी हो। सामान्यतया गुणस्तरीय सेवा दिन एक चिकित्सकले दैनिक ३० देखि ४० जना बिरामी हेर्न उपयुक्त मानिन्छ। तर काठमाडौँका सरकारी अस्पतालमा यो संख्या तीनदेखि चार गुणासम्म बढी देखिएको छ।

बिरामीको अत्यधिक चापका कारण चिकित्सकहरूले प्रत्येक बिरामीलाई पर्याप्त समय दिन नसक्ने अवस्था बनेको छ, जसले उपचारको गुणस्तरमा असर पर्ने जोखिम बढाएको स्वास्थ्य विज्ञहरूको भनाइ छ।

अर्कोतर्फ निजी अस्पतालको उपचार खर्च महँगो हुँदा न्यून आय भएका नागरिकहरू सरकारी अस्पतालमै निर्भर रहन बाध्य छन्। निजी अस्पतालमा सामान्य जाँचमै पनि धेरै खर्च लाग्ने भएकाले सर्वसाधारणको पहुँच सीमित छ।

स्वास्थ्य सेवा विभागका एक अधिकारीका अनुसार जनशक्ति, पूर्वाधार र उपकरण विस्तार नगरेसम्म समस्या समाधान कठिन छ। उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र र प्रदेशस्तरका अस्पताललाई सुदृढ बनाए मात्र काठमाडौँका ठूला अस्पतालमा हुने भीड घटाउन सकिन्छ।

‘बिरामीको चाप घटाउन प्राथमिक स्वास्थ्य केन्द्र र प्रदेशस्तरका अस्पताललाई प्रभावकारी बनाउनुपर्छ,’ उनले भने।

विशेषज्ञहरू स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार र चिकित्सक संख्या वृद्धि गरे मात्र सरकारी अस्पतालमा देखिएको चाप व्यवस्थापन गर्न सकिने बताउँछन्।

तस्वीरहरु

युद्ध अन्त्यबारे इरानको प्रस्तावमा अमेरिकाले भन्यो – ‘अध्ययन जारी छ’

एजेन्सी। इरानले युद्ध अन्त्यका लागि अघि सारेको १४ बुँदे प्रस्तावमा संयुक्त राज्य अमेरिकाले औपचारिक प्रतिक्रिया पठाएको जनाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बाघेईले सरकारी टेलिभिजनसँग कुरा गर्दै उक्त प्रतिक्रिया प्राप्त भइसकेको र हाल त्यसको विस्तृत अध्ययन भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार इरानको प्रस्तावको मुख्य उद्देश्य क्षेत्रीय युद्ध रोक्नु र तनाव कम गर्नु हो। यसमा आणविक कार्यक्रमसँग सम्बन्धित प्राविधिक विषयहरू समावेश नगरिएको उनले स्पष्ट पारे।

बाघेईले अहिलेको चरणमा प्राथमिकता युद्धविराम र क्षेत्रीय स्थायित्वमा केन्द्रित रहेको बताए। विशेषगरी लेबनानलगायत क्षेत्रमा देखिएको तनाव समाधान गर्ने विषयलाई पनि छलफलको हिस्साका रूपमा लिइएको उनको भनाइ छ।

यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अरागचीले ओमान र जर्मनीका समकक्षीसँग छुट्टाछुट्टै टेलिफोन संवाद गरेका छन्। ती वार्तामा पछिल्लो क्षेत्रीय अवस्था र कूटनीतिक प्रयासमार्फत तनाव घटाउने सम्भावनाबारे छलफल भएको इरानी विदेश मन्त्रालयले जनाएको छ।

पछिल्लो समय इजरायल र अमेरिकाले इरानका केही सहरहरूमा संयुक्त सैन्य कारबाही गरेको र त्यसको जवाफमा इरानले पनि ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको बताइन्छ, जसले क्षेत्रीय तनाव बढाएको छ।

यद्यपि त्यसपछि अस्थायी युद्धविराम लागू भए पनि दीर्घकालीन समाधानका लागि भएका वार्ताहरूले अझै ठोस नतिजा दिन सकेका छैनन्। हालको अवस्था कूटनीतिक प्रयासका लागि संवेदनशील र निर्णायक चरणमा रहेको देखिन्छ।

अभिनेत्री  स्वस्तिमा भन्छिन्: ‘चलचित्रको बिजनेस ‘ट्रिकी’ हुन्छ’

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का ले चलचित्रको व्यवसायिक पक्ष सधैँ अनिश्चित र जटिल हुने बताएकी छिन्। उनका अनुसार कुनै पनि चलचित्रले कति कमाइ गर्छ भन्ने कुरा निर्माण पक्षले पहिले नै अनुमान गर्न नसक्ने विषय हो।

स्वस्तिमाले चलचित्रको व्यापारलाई ‘कन्फ्युजिङ’ (अस्पष्ट) विषयसँग तुलना गर्दै दर्शकको रुचि अनुमान गर्न नसकिने बताइन्। ‘कमर्सको हिसाबले सिनेमा आफैँमा कन्फ्युजिङ विषय हो। अडियन्सलाई के मन पर्छ भन्ने हामीलाई थाहै हुँदैन,’ उनले भनिन्।

उनका अनुसार यदि दर्शकको रुचि स्पष्ट रूपमा अनुमान गर्न सकिने भए सबै चलचित्र एउटै ढाँचामा बन्ने थिए र सबै सफल हुने सम्भावना हुन्थ्यो। तर वास्तविकता त्यस्तो नभएको उनको भनाइ छ।

स्वस्तिमाले चलचित्रको सफलता वा असफलता सुनिश्चित नहुने भए पनि निर्माणमा इमानदारी आवश्यक रहेको बताइन्। ‘निर्माताले इमानदार भएर चलचित्र बनाएको छ भने त्यो चलचित्रले आफ्नो भागको माया पाउँछ,’ उनले भनिन्।

उनले चलचित्र निर्माणको मुख्य उद्देश्य पैसा भन्दा पनि कथा भन्ने हुनुपर्नेमा जोड दिइन्। निर्देशकले आफूले भन्न खोजेको कथा प्रस्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनको धारणा छ। ‘दर्शकलाई के मन पर्छ भनेर मात्र सोचेर चलचित्र बनाउने हो भने त्यो निर्देशकको आफ्नै सिर्जना हुँदैन,’ उनले भनिन्।

उनका अनुसार चलचित्र बनाइसकेपछि मात्र त्यसलाई दर्शकमाझ कसरी पुर्‍याउने र बढीभन्दा बढी दर्शकसम्म कसरी पहुँच बनाउने भन्ने रणनीति तय गरिन्छ।

नक्कली चुरोट बेच्दा २ जना पक्राउ

धनगढी। बझाङमा नक्कली ‘खुकुरी’ ब्रान्डका चुरोटसहित दुई जना पक्राउ परेका छन्।

जयपृथ्वी नगरपालिका-१० को जिपपार्क क्षेत्रमा नियमित जाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपक बिष्टका अनुसार पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-९ का ३२ वर्षीय पंकज चौधरी र बैतडी पाटन नगरपालिका-२ का २१ वर्षीय हेमराज पाण्डेय छन्।

चौधरीले चलाएको सु.प.प्र. ००१ क २५५२ नम्बरको मिनी ट्रकबाट ९ पेटी र १० डण्डा नक्कली खुकुरी चुरोट बरामद गरिएको बिष्टले जानकारी दिए। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ट्रक जाँच गर्दा चुरोट फेला परेको हो।

बरामद चुरोटसहित चालक चौधरी र रिटेल व्यवसायमा संलग्न पाण्डेयलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक बिष्टका अनुसार यो आन्तरिक राजस्वसम्बन्धी मुद्दा भएकाले आवश्यक कारबाहीका लागि दस्ती सम्बन्धित निकायमा पठाइने छ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

आजको बैठकमा मन्त्रालयहरूको संख्या घटाउने र नयाँ संरचनाको खाका पेश गर्ने तयारी भएको छ। सरकार ४ वटा मन्त्रालय खारेज गर्ने दिशामा अग्रसर छ।

खारेज हुन लागेको मन्त्रालयहरूमा युवा तथा खेलकुद, शहरी विकास, खानेपानी तथा सरसफाइ तथा संघीय मामला तथा सामान्य प्रशासन परिचालित छन्।

यससँगै प्रधानमन्त्री कार्यालयलाई थप शक्तिशाली बनाउने गरी नयाँ संरचनाको प्रारूप तयार पारिएको स्रोतले जनाएको छ।