`

आर्सनल दुई दशकपछि च्याम्पियन्स लिग फाइनलमा, साका बने नायक

लन्डन । आर्सनल दुई दशक लामो प्रतीक्षा तोड्दै युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै आर्सनलले ऐतिहासिक उपलब्धि हात पारेको हो।

एमिरेट्स स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा बुकायो साका नायक बने। पहिलो हाफको अन्त्यतिर लियान्द्रो ट्रोसार्डको प्रहार गोलकिपर जान ओब्लाकले रोके पनि रिबाउन्डमा आएको बललाई साकाले पोस्टको दिशा दिएका थिए। यही गोलले आर्सनललाई समग्रमा २–१ को जित दिलायो।

आर्सनलको जितमा उसको बलियो रक्षापंक्तिले पनि महत्वपूर्ण भूमिका खेलेको छ। यस सिजन नकआउट चरणमा घरेलु मैदानमा उसले कुनै गोल नखाएको तथ्य उल्लेखनीय छ। खेलको ५१औँ मिनेटमा एथ्लेटिकोका जुलियानो सिमओनीले गोल गर्ने अवसर पाए पनि डिफेन्डर ग्याब्रियलको उत्कृष्ट हस्तक्षेपले रोकिएको थियो।

सन् २००६ पछि पहिलो पटक फाइनल पुगेको आर्सनलका लागि यो सिजन ऐतिहासिक बन्ने सम्भावना देखिएको छ। क्लब च्याम्पियन्स लिग उपाधिबाट एक जित टाढा मात्र छ भने प्रिमियर लिगमा पनि उपाधि दौडमा बलियो अवस्थामा रहेको छ।

आर्सनलले अब मे ३० मा बुडापेस्टमा हुने फाइनलमा पेरिस सेन्ट जर्मेन वा बायर्न म्युनिख मध्ये एकको सामना गर्नेछ। यी दुईबीचको सेमिफाइनलमा पहिलो लेगमा पीएसजी ५–४ ले अगाडि छ।

ट्रम्प गर्जिए – ‘बाँचुञ्जेल राष्ट्रपति पदमै बस्छु’

एजेन्सी। डोनाल्ड ट्रम्पले आफू अझै ८ देखि ९ वर्षसम्म पदमा रहन चाहेको बताएका छन्। ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो कुरा मजाक नभई गम्भीर अभिव्यक्ति भएको भन्दै अझ धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे।

तर अमेरिकाको संविधानअनुसार कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति बन्न पाउने व्यवस्था छैन। यही कारण ट्रम्पको तेस्रो कार्यकालको सम्भावनालाई लिएर पुनः राजनीतिक बहस सुरु भएको छ।

संविधान संशोधन गरेर तेस्रो कार्यकाल सम्भव बनाउन कांग्रेसमा दुईतिहाइ बहुमत आवश्यक पर्छ र ५० मध्ये कम्तीमा ३८ राज्यको समर्थन चाहिन्छ। वर्तमान राजनीतिक संरचनामा यस्तो सहमति जुट्नु अत्यन्त कठिन मानिन्छ।

ट्रम्पले यसअघि पनि तेस्रो कार्यकालबारे संकेत गर्दै आएका थिए। यद्यपि कानुनी र संवैधानिक सीमाका कारण यस्तो सम्भावना व्यवहारिक रूपमा कमजोर रहेको विश्लेषकहरूको धारणा छ।

अमेरिकामा राष्ट्रपति कार्यकाल सीमित गर्ने व्यवस्था शक्ति सन्तुलन र लोकतान्त्रिक निरन्तरताका लागि महत्वपूर्ण मानिन्छ। त्यसैले ट्रम्पको पछिल्लो अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा बढाए पनि यसको कार्यान्वयन सम्भावना भने न्यून देखिन्छ।

युक्रेनमा रुसको आक्रमण : २६ जनाको मृत्यु, ८० बढी घाइते

काठमाडौं। रूसले युक्रेनका विभिन्न सहरमा गरेको ड्रोन र मिसाइल आक्रमणमा २६ जनाको मृत्यु भएको छ। किएभमा युद्धविराम लागू हुनुअघि र मस्कोले घोषणा गरेको लडाइँ रोक्ने योजनाभन्दा तीन दिनअघि भएको यस भीषण आक्रमणमा ८० भन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

मंगलबार दिउँसो, रूसी ग्लाइड बमहरूले पूर्वी सहर क्रामातोर्स्क, दक्षिणपूर्वी जापोरिज्झिया र उत्तरी चेर्निहिभलाई निशाना बनाएको बताइएको छ। जापोरिज्झियामा मात्र कम्तीमा १२ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएको प्रान्तीय गभर्नर इभान फेदोरोभले जानकारी दिएका छन्।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमण प्रभावित स्थानहरूमा उद्धार कार्य जारी रहेको बताए। उनले रूसी हवाई बमहरूले सहरको केन्द्रमै प्रहार गर्दै सर्वसाधारणलाई लक्षित गरेको स्पष्ट पार्दै यो ‘अत्यन्त निन्दनीय आतंकी आक्रमण’ भएको टिप्पणी गरे। जेलेन्स्कीका अनुसार, यस्तो हिंसा अन्त्य गर्न रूसलाई युद्ध रोक्न बाध्य पारिनु आवश्यक छ।

युक्रेनको राज्य ऊर्जा कम्पनी नाफ्टोगाजका प्रमुख सेरही कोरेत्स्कीले पनि ठूला क्षति पुगेको उल्लेख गर्दै भने, ‘हामीले ठूलो भौतिक क्षति र उत्पादन हानी बेहोरेका छौँ। यो संयुक्त आक्रमण थियो, जसमा अनम्यान्ड एरियल भेहिकल (ड्रोन) र ब्यालिस्टिक मिसाइल दुवै प्रयोग गरिएको थियो।’

२० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले निरन्तर रुपमा नगद तान्ने प्रक्रिया जारी राखेको छ। निक्षेप संकलन उपकरणको प्रयोगमार्फत केन्द्रीय बैंकले बजारबाट पैसा सोस्ने कार्य तीव्र बनाएको हो। यही क्रममा आज वैशाख २३ गते पनि राष्ट्र बैंकले निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्ने घोषणा गरेको छ।

निरन्तर बढ्दो निक्षेपका कारण राष्ट्र बैंकले नियमित रूपमा नगद प्रशोचन गरिरहेको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि सुरु गरी अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमभित्र बोलकबोल गर्न पाउनेछन्। बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदर प्रणालीमा पनि बहुबोलकबोल गर्न सकिने राहतो व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र निक्षेप संकलनको बोलकबोल प्रक्रियामा सहभागी हुन योग्य छन्। ४४ दिनका लागि जारी गरिएको यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी असार ५ गते हुने राष्ट्र बैंकले जानकारी दिएको छ।

भीपीएन : साइबर प्रोटेक्टर या जासूस ?

काठमाडौं । इन्टरनेट आजको जीवनशैलीको मेरुदण्डजस्तै बनेको छ। व्यक्तिगत संवाददेखि बैंकिङ, व्यापार, शिक्षा र मनोरञ्जनसम्मका लगभग सबै गतिविधि अहिले अनलाइनमा आधारित छन्। तर जति सुविधा बढेको छ। त्यति नै जोखिम पनि तीव्र रूपमा बढिरहेको छ।

डाटा चोरी, साइबर आक्रमण, ट्र्याकिङ्‌ र अनधिकृत निगरानीजस्ता समस्याले प्रयोगकर्ताको गोपनीयता र सुरक्षामाथि गम्भीर चुनौती खडा गरिरहेका छन्। यही सन्दर्भमा भर्चुअल प्राइभेट नेटवर्क, अर्थात् भीपीएन, डिजिटल सुरक्षाको एक प्रभावकारी उपायका रूपमा चर्चामा आएको छ।

भीपीएन मूलतः यस्तो प्रविधि हो। जसले प्रयोगकर्ताको डिभाइस र इन्टरनेटबीच एक सुरक्षित ‘सुरुङ’ निर्माण गर्छ। सामान्य अवस्थामा प्रयोगकर्ताको इन्टरनेट गतिविधि इन्टरनेट सेवा प्रदायक, वेबसाइट र विभिन्न ट्र्याकिङ्‌ प्रणालीहरूले सजिलै निगरानी गर्न सक्छन्। तर भीपीएन प्रयोग गर्दा प्रयोगकर्ताको सम्पूर्ण इन्टरनेट ट्राफिक पहिले भीपीएन सर्भरमा पुग्छ र त्यहाँबाट मात्र गन्तव्यमा प्रवेश गर्छ।

यस प्रक्रियामा प्रयोगकर्ताको वास्तविक आइपी एड्रेस लुक्छ र नयाँ भर्चुअल आइपी देखिन्छ। साथै, सम्पूर्ण डाटा इन्क्रिप्ट भएर पठाइने भएकाले बाह्य पक्षहरूले त्यसलाई बुझ्न वा ट्र्याक गर्न निकै कठिन हुन्छ।

विशेषगरी सार्वजनिक वाइफाइ प्रयोग गर्दा भीपीएनको आवश्यकता अझ बढी महसुस हुन्छ। क्याफे, होटल वा एयरपोर्टजस्ता स्थानका वाइफाइ नेटवर्कहरू प्रायः असुरक्षित हुन्छन्। जसले गर्दा त्यहाँ प्रयोगकर्ताको डाटा सजिलै चोरी हुन सक्छ। यस्तो अवस्थामा भीपीएनले डाटा इन्क्रिप्ट गरेर ह्याकरहरूबाट जोगाउने अतिरिक्त सुरक्षा तह प्रदान गर्छ।

त्यस्तै, अनलाइन विज्ञापन कम्पनीहरूले प्रयोगकर्ताको सर्च हिस्ट्री र व्यवहार ट्र्याक गर्ने प्रवृत्ति बढ्दो छ। जसलाई भीपीएनले केही हदसम्म कम गर्न सक्छ। यसबाहेक, भौगोलिक रूपमा प्रतिबन्धित सामग्री हेर्नका लागि पनि भीपीएन उपयोगी मानिन्छ। किनकि यसले प्रयोगकर्तालाई आफ्नो भर्चुअल लोकेशन परिवर्तन गर्ने सुविधा दिन्छ।

यद्यपि, भीपीएनलाई पूर्ण सुरक्षा दिने माध्यमका रूपमा बुझ्नु उचित होइन। भीपीएन प्रयोग गर्दा पनि प्रयोगकर्ता पूर्ण रूपमा अदृश्य हुँदैनन्। जिमेल वा फेसबुकजस्ता प्लेटफर्ममा लगइन गरेपछि ती सेवाहरूले प्रयोगकर्ताको गतिविधि ट्र्याक गर्न सक्छन्। साथै, सबै भीपीएन सेवा विश्वसनीय हुँदैनन्।

केही निःशुल्क वा कमजोर भीपीएन सेवाहरूले प्रयोगकर्ताको डाटा संकलन गरेर तेस्रो पक्षसँग साझेदारी गर्न सक्छन्। जसले उल्टै जोखिम बढाउन सक्छ। त्यस्तै, भीपीएन प्रयोग गर्दा इन्टरनेटको गति केही घट्ने सम्भावना पनि रहन्छ।

पछिल्ला वर्षहरूमा डाटा गोपनीयताप्रति विश्वव्यापी सचेतना बढ्दै जाँदा भीपीएनको प्रयोग पनि तीव्र रूपमा विस्तार भइरहेको छ। डिजिटल विज्ञापनको बढ्दो प्रभाव, साइबर अपराधको वृद्धि, सरकारी निगरानीप्रतिको चिन्ता र स्ट्रिमिङ सेवाहरूमा क्षेत्रीय प्रतिबन्धजस्ता कारणहरूले प्रयोगकर्ताहरूलाई भीपीएन प्रयोगतर्फ आकर्षित गरिरहेका छन्।

तर सुरक्षित इन्टरनेट प्रयोगका लागि भीपीएन मात्र पर्याप्त हुँदैन। बलियो पासवर्ड प्रयोग गर्नु, दुई तह प्रमाणीकरण अपनाउनु र शंकास्पद गतिविधिबाट टाढा रहनुजस्ता सावधानीहरू पनि उत्तिकै आवश्यक हुन्छन्।

अन्ततः, भीपीएन डिजिटल युगको एक महत्वपूर्ण सुरक्षा उपकरण हो। जसले प्रयोगकर्तालाई प्राइभेसी र सुरक्षामा थप सहयोग पुर्‍याउँछ। तर यसलाई सम्पूर्ण समाधानका रूपमा लिनु यथार्थपरक हुँदैन।

सही रूपमा र सचेत प्रयोग गरेमा भीपीएन प्रभावकारी ढाल बन्न सक्छ। तर अन्य सुरक्षा उपायबिना यो अधुरो सुरक्षा मात्र रहन्छ।

रविलाई नख्खु कारागारबाट गाडीमा निकालेको भन्दै विवादमा गायक रामकृष्ण

काठमाडौँ । गायक रामकृष्ण ढकाल एक अभिव्यक्तिले सामाजिक विवादमा तानिएका छन्। एक अन्तर्वार्तामा उनले जेनजी आन्दोलनको क्रममा सहकारी ठगी आरोपमा नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आफ्नै गाडीमा चढाएर अस्पतालतर्फ लगेको थिए भन्ने खुलासा गरेपछि विवाद चुलिएको हो।

‘मालती मङ्गले’ फिल्म आगामी २५ गतेबाट प्रदर्शनमा आउँदैछ, र यही प्रमोसनका क्रममा ढकालले उक्त घटनाबारे खुलेर बताएका हुन्। कार्यक्रम प्रस्तोताले नख्खु कारागार तोडफोडको दिन, भदौ २४ गतेको भिडियो देखाएपछि ढकालले त्यही निलो गाडी आफैले चलाइरहेको बताएका थिए।

ढकालका अनुसार उनी भैंसीपाटीमा बस्ने भएकाले त्यस दिन जेनजी आन्दोलनतर्फ जाँदै गर्दा नख्खु जेल नजिक पुगेका थिए। त्यहाँ बाहिरको रेस्टुरेन्ट नजिक रवि लामिछाने हात हल्लाउँदै देखिएको, र “पुर्‍याइदिन्छु” भन्ने भावना राखेर उनले आफूले नै गाडी चलाएर साथ दिएको बताए।

त्यही बेला ढकालको गाडीले रविलाई लगेको हल्ला त चलेको थियो, तर ड्राइभर को थे भन्ने खुलासा कहिल्यै भएको थिएन। भिडियोमा अनुहार नदेखिएकाले त्यो रहस्यकै रूपमा थियो। अहिले भने ढकालले स्वयं आफू गाडी चलाएको स्वीकारेपछि विषय फेरि चर्चामा आएको छ।

यो खुलासा बाहिरिएपछि सामाजिक सञ्जालमा ढकालविरुद्ध तीव्र प्रतिक्रिया देखिएको छ। केही प्रयोगकर्ताले २५ गते प्रदर्शनमा आउने ‘मालती मङ्गले’ फिल्म बहिस्कार गर्ने चेतावनी समेत दिएका छन्।

वीरगञ्जमा निःशुल्क जलन शिविर : १५० जना लाभान्वित, ४६ जनाको शल्यक्रिया

वीरगञ्ज । पर्साको नारायणी अस्पतालमा सञ्चालन गरिएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’बाट १५० जनाले परामर्श तथा उपचार सेवा प्राप्त गरेका छन्।

नबिल बैंक र नारायणी अस्पतालको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा वैशाख १७ देखि २० गतेसम्म शिविर सञ्चालन गरिएको थियो।

शिविरका क्रममा ४६ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ। जटिल अवस्थाका ६ जना बिरामीलाई थप उपचारका लागि कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ।

शिविरअघि मधेश प्रदेशका ६ जिल्लाका २७ पालिकामा स्क्रिनिङ क्याम्प सञ्चालन गरी बिरामीहरूको प्रारम्भिक पहिचान गरिएको थियो। फेक्ट नेपालका स्वास्थ्यकर्मीहरूले स्थानीय तहमै पुगेर विवरण संकलन गरेका थिए।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नेपालमा जलन पीडितले अझै पनि पर्याप्त उपचार नपाउने अवस्था रहेको उल्लेख गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताए।

त्यसैगरी, वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईसहितको टोलीले शल्यक्रिया गरेको थियो। उनले चार दिने शिविर अपेक्षाभन्दा प्रभावकारी भएको र भविष्यमा यस्ता सेवा स्थानीय अस्पतालमै विस्तार गर्ने लक्ष्य रहेको बताए।

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन शाहले लामो समयदेखि जलनका कारण पीडित बिरामीलाई राहत पुगेको र उनीहरूको जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे।

बैंकका अनुसार वैशाख २५ देखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा पनि यस्तै शिविर सञ्चालन गरिनेछ।

यसअघि नबिल बैंकले सुदूरपश्चिम र कर्णाली प्रदेशमा समेत यस्ता निःशुल्क शिविर सञ्चालन गरिसकेको छ। फागुनमा धनगढीमा ६५ जना र चैतमा कर्णालीमा १९४ जनाले सेवा लिएका थिए।

नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा र उद्यमशीलता क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तीन जना पक्राउ

काठमाडौं । राजधानीको इन्द्रचोक क्षेत्रमा पेस्तोल देखाएर ज्वेलर्स पसलमा लुटपाटको प्रयास गर्ने घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

वैशाख १७ गते इन्द्रचोकस्थित ‘नैना एन्ड इसन ज्वेलर्स’मा दुई जनाले लुटपाट प्रयास गरेको आरोपमा प्रहरीले विकेश राजवाहक र अरूण भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनीहरूबाट एउटा पेस्तोल समेत बरामद गरिएको छ।

यसैबीच, घटनासँग सम्बन्धित अर्को अभियुक्तका रूपमा ललितपुरका हरिकृष्ण महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो। भिडियोमा हेलमेट, नकाब र कालो कपडा लगाएका दुई जना व्यक्तिहरू पसलभित्र प्रवेश गरी एक महिला कर्मचारीलाई पेस्तोल देखाएर लुटपाटको प्रयास गरेको देखिन्छ।

तर ती महिला कर्मचारीले साहसपूर्वक प्रतिरोध गरेपछि उनीहरू लुटपाट गर्न नसकी भागेका थिए।

प्रहरीका अनुसार उक्त दिन लुटपाट सफल हुन सकेको थिएन। साथै, नजिकैको अर्को पसलमा भएको चोरी घटनासँग पनि उनीहरूको संलग्नता हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको छ।

५ हजार ८ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ८ सय रुपैयाँमा पुगेको छ। 

अघिल्लो दिन यसैको कारोबार मूल्य २ लाख ९१ हजार रुपैयाँ रहेको थियो। गत बुधबार भने सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँमा पुगेको छ। गत बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९१५ रुपैयाँ थियो।

‘मन्डेला इफेक्ट’ : सत्य,भ्रम या प्याररल वर्ल्ड ?

मानव जीवन अनुभव, स्मृति र चेतनाको आधारमा अघि बढ्छ। हामीले देख्ने, सुन्ने र भोग्ने घटनाहरू हाम्रो स्मृतिमा संग्रहित हुन्छन्, र त्यही स्मृतिले हाम्रो बुझाइ, निर्णय र विश्वास निर्माण गर्छ। तर स्मृति सधैं पूर्ण रूपमा सही, स्थिर र अपरिवर्तनीय हुँदैन। कहिलेकाहीँ मानिसहरूले एउटै घटनालाई फरक-फरक तरिकाले सम्झन्छन्, वा कहिल्यै नभएको कुरा पनि ‘सत्य’ जस्तै विश्वास गर्न थाल्छन्। यसले मानव चेतनाको सीमितता र स्मृतिको जटिल प्रकृतिलाई स्पष्ट रूपमा झल्काउँछ।

समाजमा सूचना, अनुभव र साझा कथनहरू निरन्तर आदान-प्रदान भइरहँदा मानिसहरूको व्यक्तिगत स्मृति पनि त्यसबाट प्रभावित हुन्छ। कुनै घटना बारम्बार सुन्दा वा पढ्दा, त्यो स्मृति अझ मजबुत हुँदै जान्छ। चाहे त्यो वास्तविकतासँग पूर्ण रूपमा मेल नखाओस्। यसरी सामूहिक स्मृतिको निर्माण हुन्छ। जसले कहिलेकाहीँ सत्य र भ्रमबीचको सीमालाई नामेट गरिदिन्छ।

यही पृष्ठभूमिबाट माथि आएपछि मानव स्मृति र सामूहिक विश्वासबीच देखिने यस्ता अनौठा र रहस्यमय अनुभवहरु पर्दा अघि आउँछ।  चाहे त्यसलाई देजाबू को दिऊ। चाहे त्यस्लाई ‘मन्डेला इफेक्ट’ भनौं। हाम्रा स्मृति,अनुभव र चेतना सँग जोडिएर कहिलेकाहीँ यस्ता घटना घट्छन जसले हाम्रो बुझाइमाथि नै प्रश्न उठाउँछन्। जसलाई बुझ्ने प्रयास विभिन्न दृष्टिकोणबाट आज पनि जारी छ। 

यस्तै भ्रम र सत्यको मनोवैज्ञानिक,दार्शनिक र वैज्ञानिक पृष्ठभूमिबाट ‘मन्डेला इफेक्ट’ भन्ने अवधारणाको चर्चा सुरु हुन्छ। मन्डेला इफेक्ट त्यस्तो अवस्था हो। जहाँ ठूलो संख्यामा मानिसहरूले कुनै व्यक्ति,घटना,नाम,शब्द वा दृश्यबारे एउटै गलत सम्झना,धारणा र अनुभव साझा गर्छन्। जसले सत्य र भ्रमबीचभिन्नता छुट्याउन अफ्टेरो बनाउँछ।  

पृष्ठभूमी

नेल्सन मन्डेला दक्षिण अफ्रिकाका एक प्रमुख आन्दोलनकारी एक्टिभिस्ट र राजनीतिज्ञ थिए। जसले अफ्रिकन नेशनल कांग्रेसमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनी दक्षिण अफ्रिकामा लामो समयसम्म लागू रहेको जातीय विभेदको नीति अपार्थाइड अपार्थाइड का कडा विरोधी थिए। जहाँ बहुसंख्यक कालो जनसंख्या अल्पसंख्यक गोरा शासकद्वारा शासित थियो। 

सन् १९५० र १९६० को दशकमा उनका राजनीतिक गतिविधिका कारण उनी बारम्बार कानुनी समस्यामा परे।र १९६३ मा उनलाई तोडफोड स्याबोटाज सम्बन्धी आरोपमा मुद्दा चलाइयो। उनी दोषी ठहर भए। तर मृत्युदण्डबाट बच्दै आजीवन कारावासको सजाय सुनाइयो।

१९८० को दशकमा दक्षिण अफ्रिका अपार्थाइड अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायको कडा दबाबमा आयो। १९९० मा राष्ट्रपति एफ. डब्ल्यु. डी क्लार्कको नेतृत्वमा राजनीतिक सुधारहरू सुरु गरिए। जसले अन्त्यतर्फ शान्तिपूर्ण संक्रमणको बाटो खोल्यो। डी क्लार्कले मन्डेलाको रिहाइको घोषणा गरे। अफ्रिकन नेशनल कांग्रेसको कानुनी मान्यता पुनःस्थापित गरे।

मन्डेला र डी क्लार्कले आफ्नो प्रयासका लागि १९९३ मा नोबेल शान्ति पुरस्कार नोबेल पिस प्राइज पाए। र मन्डेला १९९४ मा दक्षिण अफ्रिकाका राष्ट्रपति निर्वाचित भए। उनले १९९९ सम्म पद सम्हाले र २०१३ मा निधन नहुन्जेल शान्ति र जातीय समानताका प्रिय प्रतीकका रूपमा रहिरहे।

तर २००० को दशकमा इन्टरनेट प्रयोगकर्ताहरूको ठूलो समूहले अनलाइन आफ्ना अनुभवहरू साझा गर्न थाले।  जसमा उनीहरूले मन्डेला १९८० को दशकमै जेलमा मृत्यु भएको स्पष्ट रूपमा सम्झेको बताएका थिए। ती विवरणहरू अनुसार, उनको मृत्यु अन्तर्राष्ट्रिय टेलिभिजन समाचारमा प्रसारण गरिएको थियो। र उनको भव्य अन्त्येष्टि गरिएको थियो। जहाँ उनकी श्रीमतीले भावनात्मक श्रद्धाञ्जली दिएकी थिइन्। एक परामनोवैज्ञानिक प्यारानर्मल रिसर्चर र ब्लगर, जसले पहिलोपटक यस्तो गलत सम्झनाबारे लेखेकी थिइन्। उनले सन् २०१० मा यस अनौठो घटनालाई वर्णन गर्न ‘मन्डेला इफेक्ट’ भन्ने शब्द प्रयोग गरिन्। त्यसपछि विभिन्न वेबसाइट र अनलाइन समुदायहरूमा यस्ता धेरै उदाहरणहरू साझा हुन थाले। जसले लाखौँ दर्शकको ध्यान ताने। र हजारौँ मानिसलाई आफ्ना अनुभवहरू बाँड्न प्रेरित गर्‍यो। 

समयसँगै यस्ता धेरै उदाहरणहरू देखिन थाले। जसमा चलचित्रका संवाद, ब्रान्डका लोगो, ऐतिहासिक घटनाहरू वा सामान्य तथ्यहरूलाई मानिसहरूले गलत तरिकाले सम्झिरहेका थिए। यसले ‘मन्डेला इफेक्ट’ भन्ने शब्दलाई लोकप्रिय बनायो। र मन्डेला इफेक्ट साझा अनुभव मात्र नभएर अध्ययनको विषय नै बन्यो।

जस्तै,अमिताभ बच्चनको सुपरहिट फिल्म ‘शहंशाह’ को ‘रिश्ते में तो हम तुम्हारे बाप लगते हैं, नाम है शहंशाह…’ यो संवाद सुन्नुभएको होला। तर प्रायः कुराकानीमा हामी यसलाई प्रयोग पनि गर्छौँ, तर फिल्ममा यस्तो कुनै संवाद नै छैन। वास्तवमा फिल्मको सही संवाद यस्तो छ ‘रिश्ते में तो हम तुम्हारे बाप होते हैं…’ यस्तो छ।  यस प्रकारको घटना ‘मन्डेला इफेक्ट’ को एक उदाहरण हो। 

यस्ता कैयन उदाहरणहरु छन्। जस्तै पिकाचूको पुच्छर…धेरैजसो मानिसहरूको सम्झनामा पिकाचूको पुच्छर पहेंलो र कालो रंगको हुन्छ, तर यो पनि एक भ्रम मात्र हो। वास्तवमा पिकाचूको पुच्छर पूर्ण रूपमा पहेंलो मात्र हुन्छ। यदि तपाईंले गुगलमा खोज्नुभयो भने तपाईंलाई पिकाचूको पुच्छर केवल पहेंलो नै देखिन्छ। 

यसै प्रकार भारतमा धेरैजसो मानिसहरूले केरलाको अंग्रेजी हिज्जे Ker(e)la लेख्ने गर्छन्।जबकि सही हिज्जे Ker(a)la हो।

जस्तै, KitKat मा कुनै हाइफन हुँदैन। यो KitKat हुन्छ, Kit-Kat होइन। त्यस्तै ९० को दशकको प्रसिद्ध कार्टुन Looney Tunes हो, Looney Toons होइन। 

अर्को अत्यन्त लोकप्रिय उदाहरण बालबालिकाको किताब बेरेन्स्टेन बियर हो। ठूलो संख्यामा मानिसहरूले यसलाई Berenstein Bears (ईन उच्चारणसहित) भनेर सम्झन्छन्, तर वास्तविक नाम Berenstain Bears हो।

डिज्नीको चलचित्र स्नो ह्वाइट मा पनि यो इफेक्ट देखिन्छ। धेरैले सम्झन्छन् कि जादू गर्ने ऐनाले ‘Mirror, Mirror on the wall, who’s the fairest of them all?’ भनेको थियो, तर वास्तविक संवाद ‘Magic Mirror on the wall…’ हो।

स्टार वार्स फिल्ममा पनि फरक सम्झना छ। धेरैलाई लाग्छ डार्थ भेडरले ‘Luke, I am your father’ भनेका थिए, तर वास्तविक डाइलग ‘No, I am your father’ हो।

अन्य उल्लेखनीय उदाहरणहरूमा फ्रुट अफ द लुम लोगोमा कहिल्यै cornucopia (फलको भाँडो) नभएको, मोनोपोली खेलको म्यानले कहिल्यै एक आँखाको चश्मा नलगाएको, क्युरीयस जर्ज बाँदरको पुच्छर नभएको जस्ता कुराहरू छन्।

त्यस्तै,धेरै मानिसहरूले ९० को दशकमा Shazaam नामको सिन्बाद अभिनीत जादूगरको चलचित्र आएको सम्झन्छन्, तर यस्तो कुनै फिल्म बनेकै छैन। यसबाहेक किटक्याट (KitKat बिना हाइफन), जिफ पीनट बटर र हन्ना बार्बेरा जस्ता ब्रान्ड नामहरूमा पनि धेरै मानिसहरूको सम्झना वास्तविकतासँग मेल खाँदैन। तर यी सबै उदाहरणहरूले मन्डेला इफेक्टलाई अझ रोचक र रहस्यमय बनाएका छन्।   

मन्डेला इफेक्ट र समानान्तर ब्रम्हाण्ड 

वैज्ञानिक र मनोवैज्ञानिक दृष्टिले हेर्दा मन्डेला इफेक्टलाई समानान्तर ब्रह्माण्डसँग जोड्ने प्रयास पनि गरिएको छ। केही सिद्धान्तहरूले यो विचार अघि सारेका छन्। कि सम्भवतः विभिन्न ब्रह्माण्डबीचको सूक्ष्म ‘ग्लिच’ वा अन्तरक्रियाका कारण स्मृतिहरू आपसमा मिसिएका हुन सक्छन्।  

क्वान्टम भौतिकशास्त्रको मेनी-वर्ल्ड्स इन्टरप्रिटेसनले भन्छ। हरेक सम्भावित घटनाले नयाँ ब्रह्माण्ड सिर्जना गर्छ। हामीले जुन निर्णय वा अवलोकन गर्छौं। त्यसले एउटा रेखालाई छान्छ। तर अन्य सम्भावनाहरू अरू समानान्तर संसारमा जारी रहन्छन्। मन्डेला इफेक्टमा यी संसारहरू बीचको ‘स्लिप’ वा ‘मर्ज’ भएको हुन सक्ने धेरै धारणाहरु बाहिर आएका छन् ।

सर्नको लार्ज हेड्रोन कोलाइडर जस्ता उच्च ऊर्जा प्रयोगहरूले स्पेस-टाइममा साना-साना छिद्र निम्त्याएको र नजिकका समानान्तर ब्रह्माण्डसँग जोडेको हुन सक्ने अवधारणा पेश गर्छ ।

लेफ्ट-ब्रेनको सोचले मानिसलाई सिमिततामा सीमित गर्छ। तर हुन सक्ने सत्यमा अनन्त सम्भावनाहरू छन्।  

तर यी सबै विचारहरु वैज्ञानिक रूपमा प्रमाणित छैनन् । अधिकतम रूपमा परिकल्पनाको स्तरमै सीमित छ। 

अर्कोतर्फ,मनोविज्ञानले यसलाई स्मृति निर्माणको त्रुटि,सामाजिक प्रभाव, सूचना दोहोरिने प्रक्रिया र सामूहिक विश्वासको परिणामका रूपमा व्याख्या गर्छ। जब धेरै मानिसहरूले एउटै गलत जानकारी बारम्बार सुन्छन् वा पढ्छन्, त्यो जानकारी उनीहरूको स्मृतिमा ‘सत्य’ जस्तै स्थापित हुन सक्छ।  

जब हाम्रो सामूहिक चेतना एउटै विश्वासमा केन्द्रित हुन्छ। वास्तविकता त्यसैअनुसार बन्न बाध्य हुन्छ। मानिसले जे सोच्छ त्यहि आविष्कार गर्छ।

आठ दशमलव ७८ अंकले बढ्यो नेप्से

काठमाडौं।  मंगलबार सेयर बजारमा नेप्से परिसूचक उकालो लागेको छ। नेप्से ८.७८ अंकले वृद्धि भई २,७१२.८६ बिन्दुमा पुगेको हो।

आज तीन सय ३५ कम्पनीका कुल ७७ लाख ३४ हजार १२ कित्ता सेयर ६२ हजार २५ पटक किनबेच हुँदा कारोबार रकम ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रुपैयाँ पुगेको नेप्सेले जानकारी दिएको छ।

उपसूचकतर्फ, जीवन बीमा ०.१०%, उत्पादन तथा प्रशोधन ०.६३%, म्युचुअल फन्ड ०.४४% र अन्य समूह ०.०८% ले वृद्धि देखाए।

यता, विकास बैंक ०.०४%, वित्त ०.१२%, होटल तथा पर्यटन ०.०५%, लघुवित्त ०.२१% तथा निर्जीवन बीमा ०.१२% ले गिरावट दर्ज गरेको नेप्सेले जनाएको छ।

स्पेसएक्स र ब्लू ओरिजिन आमने-सामने

एजेन्सी । आर्टेमिस-२ क्रु आफ्नो ऐतिहासिक सर्कमलुनर यात्रा पूरा गरेर फर्किएपछि अब ध्यान चन्द्रमाको सतहमा मानव अवतरण गराउनेतर्फ केन्द्रित भएको छ। तर यो महत्वाकांक्षी लक्ष्य सम्भव बनाउने ल्यान्डरहरूको विकास कस्तो भइरहेको छ?

नासा ले हालै आर्टेमिस-३ का लागि संशोधित योजना सार्वजनिक गरेको छ। नयाँ योजनाअनुसार यो मिसन अब सन् २०२७ को अन्त्यतिर पृथ्वी कक्षामा क्रु परीक्षण गर्नेछ, जुन पहिले सन् २०२८ मा चन्द्र अवतरण गर्ने योजना थियो। यस मिसनमा नासाको ओरियन अन्तरिक्ष यान र चन्द्र ल्यान्डरमध्ये एक वा दुवैबीच पृथ्वी कक्षामा भेट हुनेछ, जुन अपोलो–९ मिसनसँग मिल्दोजुल्दो हुनेछ। त्यसपछि आर्टेमिस–४ मार्फत सन् २०२८ मा चन्द्र अवतरण गर्ने लक्ष्य राखिएको छ।

तर यो योजना नासाका साझेदारहरूको छिटो प्रगति माथि निर्भर छ।

नासाले पहिले नै दुई निजी कम्पनीलाई चन्द्र ल्यान्डर विकासका लागि छनोट गरिसकेको छ स्पेसएक्सको स्टारशिप ह्युमन ल्यान्डिङ सिस्टम र ब्लु ओरिजिनको ब्लु मुन ल्यान्डर। यी दुवै प्रणाली विकास चरणमा छन् र समय सीमाभित्र तयार हुनुपर्ने दबाबमा छन्।

स्पेसएक्सका प्रमुख एलन मस्कले पहिले मंगल ग्रहलाई प्राथमिकता दिए पनि अहिले चन्द्रमामा मानव बस्ती बसाउने योजनामा ध्यान दिएका छन्। स्पेसएक्सले हालसम्म स्टारशिप विकाससँग सम्बन्धित धेरै माइलस्टोन पूरा गरिसकेको छ, जसमा चन्द्र जीवन समर्थन प्रणाली, राप्टर इन्जिन परीक्षण, सफ्टवेयर विकास र अन्य परीक्षणहरू समावेश छन्।

तर सबैभन्दा ठूलो चुनौती भनेको अन्तरिक्षमा इन्धन स्थानान्तरण हो, जुन चन्द्र यात्राका लागि अत्यावश्यक मानिन्छ।

ब्लु ओरिजिनले भने चरणबद्ध रूपमा विकास गर्दैछ। पहिले ब्लु मुन मार्क–१ कार्गो ल्यान्डर परीक्षण गर्ने र त्यसपछि क्रु संस्करण विकास गर्ने योजना छ। यसको लागि नयाँ ग्लेन रकेट प्रयोग गरिनेछ।

नासाका अनुसार यदि कुनै पनि कम्पनी सन् २०२७ को कक्षीय परीक्षणका लागि तयार भयो भने आर्टेमिस-३ मिसन अगाडि बढाइनेछ।

नासा प्रशासक जारेड आइज्याकम्यानले दुबै कम्पनीले समयमै तयारी गर्ने प्रतिबद्धता जनाएको बताएका छन्।

आइपिएलमा आज चेन्नई र दिल्ली भिड्दै

नयाँदिल्ली।  भारतको प्रतिष्ठित इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्सले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको महत्वपूर्ण चरणमा प्रवेश गरिरहँदा दुवै टिमका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिएको छ।

चेन्नईले पछिल्ला खेलहरूमा सन्तुलित प्रदर्शन गर्दै आएको छ। बलिङ र ब्याटिङ दुवैतर्फ उत्साहजनक लय देखाइरहेका कारण टिम आज पनि उत्कृष्ट खेल्ने अपेक्षा गरिएको छ।

दिल्ली भने लगातार जीतको खोजीमा छ। सुरूआती चरणमा लय पक्रन कठिन भए पनि पछिल्ला खेलहरूमा टिमले सुधारको संकेत दिएको छ।

दुवै टिमका स्टार खेलाडी उत्कृष्ट फर्ममा रहेकाले आजको भिडन्त निकै कडा र रोमाञ्चक हुनेछ भन्ने अनुमान गरिएको छ।

यस खेलको नतिजाले प्लेअफ चित्रमा पनि महत्वपूर्ण प्रभाव पार्ने भएकाले क्रिकेटप्रेमीहरूमा उत्साह झनै बढेको छ।

खेल आज साँझ ७ बजेर ४५ मिनेटमा दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सुरु हुनेछ।

 

२ करोड घटे फेसबुक र इन्स्टाग्राम युजर ?

एजेन्सी। लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र इन्स्टाग्रामका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या करिब दुई करोडले घटेको छ।

फेसबुक र इन्स्टाग्राम फिडको खस्किँदो गुणस्तर, अत्यधिक विज्ञापन र दोहोरिने सामग्रीका कारण प्रयोगकर्ताहरू असन्तुष्ट बन्दै गएका छन्।

प्रयोगकर्ताहरू दिक्क मान्दै यी प्लेटफर्मबाट बाहिरिन थालेपछि मेटाले आफ्नो एल्गोरिदममा व्यापक परिवर्तन सुरु गरेको छ। समाचार अनुसार मेटाको उद्देश्य अब फेसबुक र इन्स्टाग्राममा मौलिक सामग्रीलाई प्राथमिकता दिनु रहेको छ।

प्रयोगकर्ताहरू किन असन्तुष्ट छन्

पछिल्लो समय फेसबुक तथा इन्स्टाग्राममा प्रयोगकर्ताहरूले फिड पहिलेजस्तो नभएको गुनासो गर्दै आएका छन्। फिडमा अत्यधिक विज्ञापन, प्रायोजित पोस्ट, बारम्बार दोहोरिने सामग्री र एल्गोरिदममा आधारित सिफारिस गरिएका पोस्टहरू धेरै देखिन थालेका छन्।

यसका कारण साथीहरू र फलो गरिएका अकाउन्टका पोस्ट कम देखिन थालेका छन्। धेरै प्रयोगकर्ताहरूको भनाइ अनुसार सामाजिक सञ्जाल अब सामाजिकभन्दा पनि एल्गोरिदमबाट सञ्चालित मनोरञ्जन प्लेटफर्म जस्तो बनेको छ।

विशेषज्ञहरूका अनुसार मेटाले प्रयोगकर्ता संलग्नता बढाउन सिफारिस गरिएका सामग्रीमा बढी ध्यान दिएको छ, तर यसले प्रयोगकर्ताको अनुभवमा नकारात्मक असर पारेको छ।

मेटाको आम्दानी मोडेल विज्ञापनमा आधारित भएकाले प्रायोजित विज्ञापन र प्रमोशनल सामग्रीको अत्यधिक प्रयोगले प्रयोगकर्तालाई झनै असन्तुष्ट बनाएको छ।

बढ्दो आलोचनापछि मेटाले अब आफ्नो सिफारिस एल्गोरिदममा परिवर्तन गर्ने तयारी गरेको छ। इन्स्टाग्राममा मौलिक कन्टेन्टलाई बढी प्राथमिकता दिइनेछ भने रिपोस्ट गरिएका र कम मौलिक सामग्रीको पहुँच घटाइनेछ।

कपी-पेस्ट गरिएका र नक्कल गरिएका अकाउन्टहरूको भिजिबिलिटी पनि कम गरिने बताइएको छ।

फेसबुकमा पनि कन्टेन्ट र्‍याङ्किङ र फिड डिस्प्ले प्रणाली सुधार गर्ने तयारी भइरहेको छ।

राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षसहित १९ जना पदमुक्त भएका छन्।

युवा तथा खेलकुद मन्त्रालयकी सहसचिव तथा प्रवक्ता मनिता श्रेष्ठका अनुसार परिषद्का उपाध्यक्ष ध्रुव आचार्यसहित १९ जना बोर्ड सदस्य पदमुक्त भएका हुन्।

तर आचार्यले यसअघि नै आफ्नो पदबाट राजीनामा दिइसकेका थिए।

सरकार भन्छ -‘पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन’

काठमाडौं । बजारमा इन्धनको मूल्य घटाउन सरकारमाथि चर्को दबाब बढिरहेका बेला सरकारले भने मूल्य घटाउने सम्भावना तत्काल नरहेको स्पष्ट पारेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले अन्तर्राष्ट्रिय आपूर्ति र मूल्य संरचनाका कारण सरकारले चाहेर पनि पेट्रोलियम पदार्थ सस्तो बनाउन नसक्ने बताएका हुन्।

मंगलबार संघीय संसदअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले इन्डियन आयल कर्पोरेशनले निर्धारण गरेको मूल्यअनुसार इन्धन खरिद गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे।

‘महँगोमा किन्ने र सस्तोमा बेच्ने अवस्था छ जसले गर्दा अघिल्लो सञ्चित नाफा पनि सकिइसकेको छ,’ उनले भने।

सरकारले हाल खाना पकाउने ग्यास र पेट्रोलजस्ता इन्धनमा अझै पनि घाटा व्यहोरेर बिक्री गरिरहेको दाबी गर्दै उनले पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गरिए मूल्य अझै बढ्ने चेतावनी दिए। उपभोक्तालाई थप मार नपरोस् भनेर नै सरकारले मूल्यलाई कृत्रिम रूपमा तल राखेर व्यवस्थापन गरिरहेको उनको भनाइ छ।

सचिव राउतका अनुसार लगातार घाटामा रहेको नेपाल आयल निगमले आफ्ना कर्मचारीलाई बोनस दिन सक्ने अवस्था पनि छैन। ‘तीन वर्षसम्म लगातार नाफा भए मात्रै बोनस वितरण गर्न पाइन्छ तर अहिले निगम नाफामा छैन,’ उनले स्पष्ट पारे।

‘लालीबजार’ फिल्मको सुनुवाइ वैशाख २३ गते हुने

काठमाडौं।  नेपाली फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ वैशाख २३ गते बुधवारका लागि सारिएको छ । 

उच्च अदालत पाटनका न्यान्याधीश गिता प्रसाद तिम्सिना तथा दीपक खनालको संयुक्त इजलासले सेन्सर बोर्डमार्फत सेन्सर कपी पेश गर्न आदेश दिएको छ । 

मंगलवार भएको सुनुवाइमा अदालतले यसअघि १५ वैशाखमा दिएको प्रदर्शन रोक्ने आदेशमा छलफल गर्दै सेन्सर बोर्डमार्फत सक्कल कपी मगाउँदै बुधवारलाई छलफलमा बोलाएको छ ।

महाराजधिराजमा ८० भन्दा बढी कलाकारले अभिनय गर्दै

काठमाडौं । फिल्म ‘महाराजधिराज’ को मंगलबार बिहान बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ। शंखध्वनि र पञ्चेबाजासहित सम्पन्न मुहूर्त कार्यक्रममा फिल्मका निर्देशक, मुख्य कलाकार तथा निर्माण टिम उपस्थित रहे। पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिग्देललगायत कलाकारहरूको विशेष सहभागिता थियो।

परिच्छेद सेनको निर्देशनमा बन्ने यो फिल्मको छायांकन यही शुक्रबारदेखि सुनसरीको श्रीलंका टापुबाट सुरू हुने बताइएको छ। टापुमा करिब एक हप्ता छायांकन चलेपछि फिल्म युनिट काठमाडौं, भक्तपुर र कीर्तिपुरका ऐतिहासिक तथा आकर्षक स्थानतर्फ सर्नेछ। कुल ७० दिन छायांकन योजना रहेको फिल्मका छायांकार नवराज थापा हुन्।

लामो समयदेखि तयारी गरिएको ‘महाराजधिराज’ सामाजिक परिवेशमा आधारित पिरियड ड्रामा भएको निर्देशक सेनले बताएका छन्। फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डी.सी. र सुशील सिटौलालगायत कलाकार अभिनय गर्नेछन्।

यसबाहेक हिउँवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटा लगायतका कलाकारहरू पनि फिल्ममा देखिनेछन्। करिब ८० कलाकार समेटिएको यो परियोजनामा कमल गाउँले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ र पूजा बुढालगायत कलाकारहरूको समेत अभिनय रहनेछ।

प्रस्तुतकर्ता विराज विष्टले बलियो कलाकार टोलीअनुसार नै उत्कृष्ट फिल्म निर्माण गर्ने विश्वास व्यक्त गरेका छन्। छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’मा निर्देशक सेनकै लेखन समावेश छ। 

निर्माण टोलीमा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्।

कार्ल मार्क्स र कम्युनिज्म

विश्वको प्रसिद्ध सञ्चार संस्था बीबीसीले इन्टरनेटमार्फत गरेको एक सर्वेक्षणले कार्ल मार्क्सलाई ‘पछिल्लो एक हजार वर्षको सर्वश्रेष्ठ विचारक’ को रूपमा चयन गरेको थियो। उक्त सर्वेक्षणले मार्क्सको विचारको प्रभाव अझै आगामी हजार वर्षसम्म कायम रहने निष्कर्ष निकालेको थियो। 

मार्क्सको जन्म भएको २०८ वर्ष र निधन भएको १४३ वर्ष पूरा भइसकेको छ। समयको यो लामो यात्रापछि पनि उनका विचारहरू जीवन्त,सान्दर्भिक र शक्तिशाली छन्।

विश्वभरि अझैपनि वर्गीय शोषण,सामाजिक न्यायको अभाव र असमानता विद्यमान छ। त्यसको समाधान खोज्ने हो भने मार्क्सको दर्शन अहिले पनि उत्तिकै मार्गदर्शक छ। उनी अझै दबिएका र उत्पीडित वर्गका लागि एउटा जीवित आशा र वैचारिक हतियार बनेका छन्।

कार्ल मार्क्स को थिए?

मार्क्स जर्मन अर्थशास्त्री, समाजशास्त्री र दार्शनिक थिए। उनको जन्म सन् १८१८ मे ५ मा ट्रियरमा भएको थियो। जुन त्यतिबेला प्रशियाको राइनल्यान्ड क्षेत्र अन्तर्गत पर्थ्यो। र सन् १८८३ मार्च १४ मा लन्डनमा उनको निधन भयो।

मार्क्सले १८४० को दशकको सुरुतिर कट्टरपन्थी पत्रकारको रूपमा आफ्नो करियर सुरु गरेपछि कम्युनिज्मप्रति आकर्षित भए। कम्युनिज्म भनेको उत्पादनका साधनहरू साझा स्वामित्वमा राखेर सार्वजनिक हितका लागि व्यवस्थापन गर्नुपर्छ भन्ने सिद्धान्त हो । उनले १९औं शताब्दीको युरोपमा यस विचारधाराका प्रमुख समर्थकको रूपमा आफूलाई स्थापित गरे। विशेष गरी सन् १८७१ को पेरिस कम्युनसँगको सम्बन्धका कारण उनी प्रसिद्ध बने। पेरिस कम्युन फ्रान्सेली सरकारविरुद्ध दुई महिनासम्म चलेको समाजवादी मजदुर वर्गको विद्रोह थियो।

सन् १८४८ का युरोपेली क्रान्तिहरू सिसिली, फ्रान्स, जर्मनी, इटाली र अस्ट्रियन साम्राज्यमा राजतन्त्रविरुद्ध भएका गणतान्त्रिक विद्रोहहरूपछि मार्क्स आफ्ना राजनीतिक विचारका कारण निर्वासनमा जान बाध्य भए। त्यसपछि उनी लन्डन गए, जहाँ उनले आफ्नो बाँकी जीवन बिताए। त्यहाँ उनले ब्रिटिश म्युजियमको रिडिङ रुममा अध्ययनमा धेरै समय बिताए।

उनी आर्थिक रूपमा कमजोर अवस्थामा थिए। र लामो समयसम्म गरिबीमा बाँच्नुपर्‍यो। उनका बौद्धिक सहकर्मी फ्रेडरिक एंगेल्सले म्यानचेस्टरस्थित आफ्नो बुबाको कपास मिलबाट प्राप्त आम्दानी प्रयोग गरी उनलाई नियमित आर्थिक सहयोग गरे।

मार्क्सको सबैभन्दा प्रसिद्ध कृति कम्युनिस्ट घोषणापत्र (१८४८) हो। जुन उनले एंगेल्ससँग मिलेर लेखेका थिए। 

कार्ल मार्क्सले के विश्वास गर्थे?  

मार्क्सका विश्वासहरू बुझ्नका लागि उन्नाइसौँ शताब्दीको युरोपको सामाजिक र आर्थिक अवस्थालाई ध्यान दिनु आवश्यक छ। त्यो समयमा औद्योगिक क्रान्ति तीव्र रूपमा अघि बढिरहेको थियो। नयाँ कारखाना प्रणालीले ठूलो मात्रामा उत्पादन सुरु गरे पनि कामदार वर्गलाई अत्यन्त कठिन अवस्थातर्फ धकेलेको थियो। उनीहरूले न्यून तलब, लामो कार्यघण्टा,असुरक्षित र अस्वास्थ्यकर वातावरणमा काम गर्नुपर्थ्यो। साथै, शहरी क्षेत्रहरूमा झुग्गी बस्ती र गरिबी तीव्र रूपमा बढिरहेको थियो।

मार्क्सलाई लाग्थ्यो यस्तो असमानता र शोषण लामो समयसम्म टिक्न सक्दैन। उनका अनुसार जब कामदार वर्ग लगातार गरिबी र कठिनाइमा पर्छ, तब उनीहरू अन्ततः आफ्ना मालिकहरू अर्थात् पूँजीपति वर्ग विरुद्ध असन्तुष्ट हुन्छन् र परिवर्तनको माग गर्छन्। समाजवादी विचारक र संगठनहरूले यस असन्तुष्टिलाई राजनीतिक चेतनामा बदल्नेछन् र कामदारहरूलाई यो बुझाउनेछन् कि उत्पादन नाफाका लागि होइन, मानव आवश्यकताका लागि हुनुपर्छ। यस प्रक्रियाले श्रमिक वर्गलाई प्रणाली परिवर्तनतर्फ अग्रसर गराउनेछ भन्ने मार्क्सको धारणा थियो।

मार्क्सले कल्पना गरेको परिवर्तन प्रायः क्रान्तिको रूपमा आउन सक्छ भन्ने उनको प्रारम्भिक विश्लेषण थियो। यस्तो क्रान्तिपछि ‘सर्वहाराको तानाशाही’ भन्ने चरण सुरु हुनेछ। यस चरणमा श्रमिक वर्गको प्रतिनिधित्व गर्ने सरकार गठन हुनेछ, जसले अर्थतन्त्रलाई व्यवस्थित गर्नेछ। उत्पादनका साधनहरू जस्तै कारखाना, बैंक, यातायात र जमिन निजी स्वामित्वबाट हटाएर सार्वजनिक स्वामित्वमा ल्याइनेछन्। त्यसपछि राज्यले योजनाबद्ध रूपमा उत्पादन र वितरण गर्नेछ, जसले जनताको आवश्यकता अनुसार वस्तुहरूको आपूर्ति सुनिश्चित गर्नेछ।

मार्क्सका अनुसार यो चरण स्थायी हुँदैन। समयसँगै जब आर्थिक असमानता घट्दै जान्छ। र वर्गीय विभाजन समाप्त हुँदै जान्छ। राज्यको भूमिका पनि क्रमशः कमजोर हुँदै जान्छ। अन्ततः राज्य आफैं हराउने अवस्था आउँछ। किनकि वर्गीय शोषण नियन्त्रण गर्न राज्य आवश्यक रहँदैन।

दीर्घकालीन विकास प्रक्रियापछि मार्क्सले कल्पना गरेको अन्तिम अवस्था ‘साम्यवादी समाज’ हो। यस्तो समाजमा निजी सम्पत्ति र वर्ग विभाजन धेरै हदसम्म समाप्त हुन्छ। 

उत्पादनका साधनहरू सामूहिक रूपमा प्रयोग हुन्छन् र उत्पादन जनताको आवश्यकता अनुसार गरिन्छ। यस अवस्थामा शोषण, जबरजस्ती श्रमको प्रयोग र आर्थिक असमानता जस्ता समस्याहरू न्यून वा समाप्त हुनेछन् भन्ने उनको विश्वास थियो।

मार्क्सले आफ्ना विचारहरू कसरी विकास गरे?

मार्क्सले आफ्ना विचारहरू एकैचोटि निर्माण गरेका होइनन्। उनका सिद्धान्तहरू लामो अध्ययन, अघिल्ला विचारकहरूको प्रभाव र युरोपको औद्योगिक समाजको गहिरो विश्लेषणबाट क्रमशः विकसित भएका हुन्। विशेषगरी उन्नाइसौँ शताब्दीको सुरुवाततिरका समाजवादी विचारकहरूको लेखनले उनलाई प्रारम्भिक दिशा दिएको थियो। रोबर्ट ओवेन, चार्ल्स फुरियर र हेनरी द सेन्ट सिमोन जस्ता विचारकहरूले पुँजीवादी प्रणालीलाई आलोचना गर्दै साझा स्वामित्व र सामूहिक व्यवस्थापनमा आधारित समाजको आवश्यकता औँल्याएका थिए। यिनै विचारहरूले मार्क्सलाई पनि पुँजीवादको विकल्प खोज्न प्रेरित गर्‍यो।

सन् १८४५ तिर आइपुग्दा मार्क्स लगभग पूर्ण रूपमा यो निष्कर्षमा पुगे कि पुँजीवाद केवल आर्थिक प्रणाली मात्र होइन, तर असमानता उत्पादन गर्ने संरचना पनि हो। उनका अनुसार पुँजीवाद प्रतिस्पर्धा, नाफा र प्राविधिक विकासमा आधारित भए पनि यसले बारम्बार आर्थिक संकट सिर्जना गर्छ। यस्ता संकटहरूमा धन केही व्यक्तिहरूको हातमा केन्द्रित हुँदै जान्छ, जसले समाजमा असमानता अझ बढाउँछ। यही कारणले पुँजीवाद दीर्घकालीन रूपमा स्थिर हुन सक्दैन भन्ने उनको विश्वास थियो।

मार्क्सका प्रारम्भिक प्रमुख लेखहरू जस्तै ‘१८४४ का पेरिस पाण्डुलिपिहरू’ र ‘१८४५-४६ को जर्मन विचारधारा’ उनको विचार विकासका महत्वपूर्ण चरण हुन्। यी कृतिहरू उनको जीवनकालमा व्यापक रूपमा प्रकाशित भएनन्, तर पछि बीसौँ शताब्दीमा मात्र सार्वजनिक गरिए। विशेषगरी १९३० को दशकमा सोभियत अनुसन्धानकर्ताहरूले यी लेखहरू पूर्ण रूपमा प्रकाशित गरेपछि मात्र विश्वभर उनका प्रारम्भिक विचारहरू गहिरो रूपमा अध्ययन हुन थाले।

‘१८४४ का पेरिस पाण्डुलिपिहरू’ मा मार्क्सले कामदारको ‘अलिनेसन’ अर्थात् अलगावको अवधारणा विस्तारमा प्रस्तुत गरेका छन्। उनका अनुसार पुँजीवादी उत्पादन प्रणालीमा कामदार आफ्नै श्रमबाट, आफ्नै उत्पादनबाट, अन्य कामदारबाट र अन्ततः मानव अस्तित्वको सारबाट समेत टाढा हुँदै जान्छ। यसलाई उनले ‘प्रजाति अस्तित्व’ भन्ने अर्थमा व्याख्या गरेका छन्। जसले मानिसको सामाजिकता, सहकार्य र सृजनशीलतालाई जनाउँछ।

तर पछि ‘जर्मन विचारधारा’ मा आइपुग्दा मार्क्सले आफ्नो दृष्टिकोण परिवर्तन गर्दै ‘प्रजाति अस्तित्व’ को दार्शनिक अवधारणालाई त्यागे। त्यसको सट्टा उनले समाजलाई उत्पादन प्रणालीको आधारमा बुझ्नुपर्ने बताए। उनका अनुसार इतिहास विभिन्न उत्पादन प्रणालीहरूको क्रमिक विकास हो, र पुँजीवाद त्यसैको एउटा आधुनिक चरण हो। यस चरणमा कामदारहरूबीच सहकार्य त हुन्छ। तर त्यो सहकार्य उत्पादन प्रक्रियाभित्र सीमित र नियन्त्रित हुन्छ।

पछिल्ला वर्षहरूमा मार्क्सले ‘अलिनेसन’ को अवधारणालाई पूर्ण रूपमा केन्द्रमा नराखे पनि यसको प्रभावपूर्ण आलोचना भने जारी राखे। उनले पुँजीवादले कामदारको व्यक्तित्वलाई टुक्र्याउने, उसलाई केवल मेसिनको एउटा भागजस्तै बनाउने र मानव गरिमालाई कमजोर बनाउने तर्क गरे। उनका अनुसार यान्त्रिकीकरण र औद्योगिकीकरणले कामदारलाई केही फुर्सद दिन सक्छ, तर त्यो स्वतन्त्रता होइन, बरु संरचनात्मक निर्भरता हो।

उनको सबैभन्दा महत्वपूर्ण कृति ‘क्यापिटल’ (१८६७) मा उनले पुँजीवादी प्रणालीको गहिरो विश्लेषण प्रस्तुत गरे। यसमा उनले लेखेका छन् कि पुँजीवादले कामदारलाई सम्पूर्ण मानवको रूपमा होइन, केवल उत्पादन प्रक्रियाको एउटा अंशको रूपमा व्यवहार गर्छ। यसले मानव श्रमलाई वस्तुमा रूपान्तरण गर्छ र श्रमिकलाई आफ्नै सिर्जनाबाट अलग गर्छ।

यसरी कार्ल मार्क्सका विचारहरू प्रारम्भिक समाजवादी प्रभाव, युरोपेली औद्योगिक अनुभव र निरन्तर वैचारिक पुनर्विचारको प्रक्रियाबाट विकसित भएका हुन्। उनका विचारहरू स्थिर नभई समयसँगै परिष्कृत हुँदै गएका थिए।  जसले उनलाई आधुनिक समाजशास्त्र र राजनीतिक अर्थशास्त्रका सबैभन्दा महत्वपूर्ण चिन्तकहरूमध्ये एक बनाएको छ।

२०औँ शताब्दीमा कम्युनिज्म 

२०औँ शताब्दीको सुरुतिर मार्क्सवादका धेरै प्रकारका व्याख्या र धाराहरू अस्तित्वमा थिए। तीमध्ये सबैभन्दा प्रभावशाली धारा जर्मनीको सोसियल डेमोक्रेटिक पार्टी (एस.डी.पी.)सँग सम्बन्धित थियो। यस पार्टीभित्र रहेका ‘सुधारवादी’ विचारकहरू, विशेष गरी एडुआर्ड बर्नस्टाइन, कार्ल मार्क्सका केही मुख्य निष्कर्षहरूसँग असहमत थिए। उनीहरूले मार्क्सले भनेझैँ पुँजीवाद अनिवार्य रूपमा ठूलो क्रान्ति र विनाशतर्फ जान्छ भन्ने विचारलाई अस्वीकार गरे। उनीहरूको धारणा थियो कि पुँजीवादी प्रणालीलाई क्रमिक सुधार, कानुनी परिवर्तन र मतदानमार्फत शान्तिपूर्ण रूपमा सुधार गर्न सकिन्छ।

तर त्यही समयमा रूसमा १९१७ को बोल्सेभिक क्रान्तिले मार्क्सवादी विचारलाई फरक दिशामा लैजान थाल्यो। भ्लादिमिर लेनिनको नेतृत्वमा बोल्सेभिकहरूले अन्तरिम सरकारलाई हटाएर श्रमिक वर्गको नाममा सत्ता कब्जा गरे। लेनिनको विचारमा एउटा अनुशासित र केन्द्रित क्रान्तिकारी पार्टीले राज्यसत्ता नियन्त्रण गर्न सक्छ। तर सत्ता जोगाउन र क्रान्ति अघि बढाउन निर्णय शक्ति पार्टीभित्र अत्यन्त केन्द्रित हुनुपर्छ। यसले व्यवहारमा सत्ता केही नेताहरूको हातमा केन्द्रित हुने बाटो खोल्यो।

लेनिनको मृत्युपछि सन् १९२४ मा जोसेफ स्टालिन सत्तामा उदाए। उनले क्रमशः सोभियत संघमा एकदलीय नियन्त्रण मजबुत बनाए र विरोधीहरूलाई दबाउने नीति अपनाए। १९३० को दशकमा स्टालिनको नेतृत्वमा ‘पर्ज’ भनिने अभियान चलाइयो जसमा राज्यका सम्भावित शत्रु ठानिएका लाखौँ मानिसहरूलाई पक्राउ, निर्वासन वा मृत्युदण्ड दिइयो। यस अवधिमा ठूलो संख्यामा मानिसहरू गुलाग भनिने जबरजस्ती श्रम शिविरमा पठाइए। ऐतिहासिक अनुमानहरू अनुसार लाखौँ मानिसहरूको मृत्यु भएको देखिन्छ यद्यपि ठ्याक्कै संख्या अझै विवादित छ।

यस्तै प्रकारका अत्यन्त कठोर नीतिहरू चीनमा पनि देखिए। जहाँ सन् १९४९ पछि माओ त्से-तुङको नेतृत्वमा कम्युनिस्ट शासन स्थापना भयो। विशेषगरी ‘ग्रेट लिप फर्वर्ड’ (१९५८–१९६१) कार्यक्रमका क्रममा कृषि र उद्योगलाई तीव्र रूपमा रूपान्तरण गर्ने प्रयास गर्दा ठूलो मानवीय संकट उत्पन्न भयो र लाखौँ मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ।

यसै सन्दर्भमा यी सबै घटनाहरूका लागि कार्ल मार्क्स जिम्मेवार थिए? भन्ने प्रश्न उठ्छ। मार्क्सका सिद्धान्तहरूले पूँजीवादको आलोचना, वर्ग संघर्षको अवधारणा र क्रान्तिको सम्भावना प्रस्तुत गरे जसले पछि धेरै क्रान्तिकारी आन्दोलनहरूलाई वैचारिक आधार दियो। त्यस अर्थमा उनका विचारहरूले २०औँ शताब्दीको कम्युनिज्मको प्रसारमा गहिरो प्रभाव पारेको मानिन्छ। तर स्टालिनवाद वा माओवादजस्ता अत्यन्त केन्द्रीकृत, दमनकारी र हिंसात्मक शासन प्रणालीहरू मार्क्सले प्रत्यक्ष रूपमा कल्पना गरेका थिएनन्।

मार्क्सले वर्गविहीन, शोषणरहित र राज्य अन्ततः कमजोर हुँदै जाने समाजको परिकल्पना गरेका थिए। तर व्यवहारमा उनका विचारहरू विभिन्न ऐतिहासिक, राजनीतिक र शक्ति संघर्षका कारण फरक तरिकाले व्याख्या र प्रयोग गरिए। त्यसैले मार्क्सलाई यी सबै घटनाहरूको प्रत्यक्ष जिम्मेवार भन्न सकिँदैन तर उनका सिद्धान्तहरू केही राजनीतिक प्रयोगहरूका लागि वैचारिक आधार बने भन्ने कुरा भने स्वीकार गरिन्छ। 

नेपाल र मार्क्सवाद

नेपालमा पनि मार्क्सवादको प्रवेश बीसौँ शताब्दीको मध्यतिर भयो । नेपाल कम्युनिस्ट पार्टी को गठनपछि मार्क्सवादी विचारहरू राजनीतिक बहस र आन्दोलनमा सक्रिय रूपमा प्रवेश गरे। सुरुमा यी विचारहरू विशेषगरी गरिबी, भूमि असमानता र श्रमिक तथा किसानका समस्यासँग जोडिएका थिए। ग्रामीण समाजमा रहेका असमान संरचनाहरूलाई चुनौती दिने वैचारिक आधारका रूपमा मार्क्सवाद प्रयोग गरियो। 

नेपालको राजनीतिक इतिहासमा मार्क्सवादले विभिन्न रूप लिएको छ। कहिले यो सशस्त्र संघर्षको आधार बनेर माओवादी जनयुद्ध मा प्रयोग भयो। भने कहिले संसदीय लोकतन्त्रभित्र प्रवेश गरेर राजनीतिक दलहरूको वैचारिक आधार बन्यो। २०६२/६३ को राजनीतिक परिवर्तनपछि मार्क्सवादी विचारधारा बोकेका दलहरू पूर्ण रूपमा लोकतान्त्रिक प्रणालीभित्र समाहित भए।

नेपालका प्रमुख कम्युनिस्ट नेताहरूमा मदन भण्डारी, मनमोहन अधिकारी, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत धेरै नेताहरू पर्छन्। यी नेताहरूले फरक-फरक समयमा र फरक-फरक ढंगले मार्क्सवादलाई नेपाली राजनीतिमा व्याख्या गर्ने गरेका छन्। यसले मार्क्सवादलाई नेपालमा व्यवहारिक राजनीतिक विचारधाराको रूपमा स्थापित गर्न खोजेको जस्तो देखिन्छ। 

मार्क्सवादको मूल मान्यता उत्पादनका साधनहरूको सामूहिक स्वामित्व हो। तर नेपालमा भने मिश्रित अर्थतन्त्र रहेको छ। जहाँ निजी क्षेत्र, सरकारी क्षेत्र र सहकारी क्षेत्र सँगसँगै सञ्चालनमा छन्। कम्युनिस्ट दलहरूले पनि व्यवहारमा निजी सम्पत्ति पूर्ण रूपमा समाप्त गर्ने नीति अपनाएका छैनन्। बरु सामाजिक न्याय र राज्यको भूमिकामा जोड दिएका छन्।

नेपालमा मार्क्सवादको प्रभाव विशेषगरी भूमि सुधार, श्रमिक अधिकार, सामाजिक समानता र राज्यको भूमिकाबारे बहसमा स्पष्ट देखिन्छ। तर यसको व्यवहारिक प्रयोग राजनीतिक प्रतिस्पर्धा, सत्ता संघर्ष र गठबन्धन प्रणालीसँग मिसिएर फरक रूप लिएको छ। 

नेपालमा पूर्ण रूपमा मार्क्सवादी आर्थिक प्रणाली लागू छैन। तर सामाजिक न्याय र समानताको बहसमा यसको प्रभाव स्पष्ट देखिन्छ। 

मार्क्स आज पनि उतीकै सान्दर्भिक छन्?

मार्क्सले समाज र अर्थतन्त्रलाई बुझ्ने नयाँ दृष्टिकोण प्रस्तुत गरे। उनले पुँजीवादलाई इतिहासको एउटा चरणको रूपमा हेरेका थिए। यही कारणले उनका विचारहरू आज पनि अर्थतन्त्र, राजनीति र समाज अध्ययनमा महत्वपूर्ण मानिन्छन्। 

उनका अनुसार पुँजीवादी प्रणालीमा नाफा नै मुख्य उद्देश्य हुन्छ। जसले कहिलेकाहीँ मानव र वातावरणीय आवश्यकताभन्दा माथि प्राथमिकता पाउन सक्छ।

अन्ततः उनका विचारहरूले समाजमा रहेको असमानता, शोषण र भविष्यका चुनौतीहरूबारे सोच्न प्रेरित गर्छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या हालसम्म ३ हजार १ सय ११ (तस्वीरहरु)

काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको विवरण संकलन कार्य तीव्र पारिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या हालसम्म ३ हजार १ सय ११ पुगेको छ।

बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले वैशाख १२ गतेदेखि संयुक्त रूपमा रंगशालामा बसेर प्रभावित परिवारहरूको तथ्यांक संकलन गरिरहेका छन्। रंगशालाको पश्चिमतर्फ छुट्टाछुट्टै डेस्क स्थापना गरी परिवारहरूलाई फारम भर्न लगाउने तथा आवश्यक विवरण संकलन गर्ने काम भइरहेको छ।

प्रभावित नागरिकहरूको आधारभूत आवश्यकता सम्बोधन गर्न विभिन्न सहायक सेवाहरू पनि सञ्चालनमा ल्याइएको छ। रंगशालाभित्र स्वास्थ्य परीक्षण, खानपानको व्यवस्था तथा राष्ट्रिय परिचयपत्र बनाउने सेवा उपलब्ध गराइएको छ। यी सबै व्यवस्थापन तथा समन्वयको जिम्मेवारी काठमाडौं महानगरपालिकाले सम्हालिरहेको छ।

श्रेष्ठसहित ३० बढी पक्राउ

काठमाडौं। चितवन, कैलाली, झापा, सुनसरी, बाँके, उदयपुर, तनहुँ, बर्दिया र धनकुटा लगायत विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष कारबाहीमा लागूऔषध सहित ३० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्।

चितवनको भरतपुर महानगरपालिका-११ कमलादेवीमाई टोलबाट करिब २ सय ग्राम गाँजा सहित ३७ वर्षीय अन्सु श्रेष्ठ पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट भोजाडबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

यस्तै भरतपुर–१५ शान्ति चोकबाट ३२ वर्षीय रूपेश लामा खैरो हेरोइन जस्तो देखिने ५ ग्राम २ सय ६० मिलिग्राम पदार्थ, डिजिटल तराजु र नगद सहित पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका-८ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जना पक्राउ परेका छन् भने झापाको भद्रपुर, मेचीनगर र अन्य स्थानबाट पनि ब्राउनसुगर र खैरो हेरोइन सहित ६ जना पक्राउ परेका छन्।

सुनसरीको देवानगञ्ज र धरान क्षेत्रमा लागूऔषध सहित ३ जना पक्राउ परेका छन्। बाँकेको नेपालगन्जमा पनि ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन्।

उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा ट्रामाडोल र डाइक्लोमाइन सहित ३ जना पक्राउ परेका छन्। तनहुँको व्यास नगरपालिका क्षेत्रमा २७ वर्षीय ईनाम गुरुङ लागूऔषध सहित पक्राउ परेका छन्।

बर्दियाको गुलरिया र अन्य स्थानमा ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् भने धनकुटाको हिलेबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार सबै घटनामा अनुसन्धान जारी रहेको छ। केही फरार व्यक्तिहरूको खोजी कार्य पनि तीव्र पारिएको छ।

नेपालसँग ओमान ८१ रनले पराजित

काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले ओमानलाई पराजित गर्दै शानदार जीत हात परेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेलमा नेपाल ८१ रनले विजयी भयो।

पहिले ब्याटिङ गरेको नेपालले ५९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रनको योगफल खडा गर्‍यो। नेपाली जितमा आसिफ शेखले उत्कृष्ट ९४ रन जोडे भने गुल्सन झाले धारिलो बलिङ गर्दै ५ विकेट खसाले।

२५७ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ३९.५ ओभरमै १७५ रनमा अल–आउट भयो। बलरेखा र नियन्त्रणमा चम्किएका गुल्सनको प्रभावकारी स्पेलले ओमानलाई दबाबमा राखेर नेपाललाई सहज जित दिलायो।

१७ महिलासहित ३० जना पक्राउ : ६ होटलका सञ्चालकविरुद्ध मुद्दा

धनगढी। धनगढीमा होटल सञ्चालनको आडमा अनैतिक गतिविधि गराएको आरोपमा ६ वटा होटलका सञ्चालकविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ। शुक्रबार प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले धनगढीका विभिन्न स्थानमा रहेका होटलहरूमा छापा हानेर ३० जनालाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा परेकामध्ये होटलका कर्मचारी र ग्राहकलाई आवश्यक सोधपुछपछि छाडिएको छ भने होटल सञ्चालकविरुद्ध मानव बेचबिखन तथा अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार किटानी जाहेरी परेका होटल सञ्चालकविरुद्ध मानव बेचबिखनको मुद्दा र जाहेरी नपरेकाको हकमा तत्काल अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरिएको हो।

अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका १, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा हानिएको थियो। सो क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको तथा त्यस्तो कार्य गर्न प्रेरित गरेको अभियोगमा १७ महिला र १३ पुरुष गरी ३० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ब्ल्याक स्टोन कटेजबाट ७ जना, सम्झना होटलबाट ४ जना, एएम एण्ड ए होटलबाट ५ जना, प्रिन्स होटलबाट ५ जना, कर्णाली होटलबाट ६ जना र एभरेष्ट होटलबाट ३ जना नियन्त्रणमा परेका थिए।

यी सबै होटलका सञ्चालकविरुद्ध मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पाँच होटलका सञ्चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने ब्ल्याक स्टोन कटेजका सञ्चालक फरार रहेका छन्। फरार सञ्चालकको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

हर्क सम्पाङ र सुदन किराँतीबीच हुने भनिएको एकता भंग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रलोपा नेता सुदन किराँतीसँग गर्ने भनेको एकता भङ्ग गरेका छन्। 

साम्पाङ र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) छोडेका नेता किराँती भनिएको एकता प्रक्रिया अन्तिम चरणमै आएर रोकिएको हो । समायोजनका सबै खाका तयार भइसकेको अवस्थामा श्रम संकृतिका अध्यक्षले एकतर्फी रूपमा सहमति भंग गरेपछि किराँती अलग राजनीतिक अभियानका लागि निकटवर्तीसँग गम्भीर छलफलमा जुटेका छन्।

दुवैबीच २१ फागुनमा, चुनावअघि नै सहकार्य भएको थियो। २०७९ को चुनावमा भोजपुरबाट प्रतिनिधिसभा सदस्य बनेका किराँती प्रचण्ड नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए। राई धरान मेयर हुँदा विमानस्थल विषयमा केही विवाद भए पनि चुनावको मुखमा उनीहरूबीच एकअर्कालाई सहयोग गर्ने समझदारी बनेको थियो।

प्रलोपाबाट राजीनामा दिएपछि किराँती राई एकता प्रक्रिया तीव्र बन्यो । करिब दुई महिनाअघि दुवै पक्षले तीन तीन सदस्यीय वार्ता टोली पनि गठन गरे । वार्ताबाट किराँतीलाई श्रम संस्कृतिको वरिष्ठ उपाध्यक्ष, दुई उपमहासचिव, एक सचिव र १५ केन्द्रीय सदस्य दिने सहमति बनिसकेको थियो। सहमतिमा कलाकार दयाहाङ राई र गायक राजेशपायल राई साक्षी बसेका थिए।

तर सहमति सार्वजनिक हुन नपाउँदै राईले वार्ता टोली भंग गर्दै संयोजकलाई उपाध्यक्षमा मनोनयन गरे, जसलाई किराँती पक्षले सहमतिको खुला उल्लङ्घन मानेको छ।

वार्ता टोली गठन गर्नुअघि दुवै नेताबीच विधान संशोधन, पार्टी व्यवस्थापन, केन्द्रले नीति बनाएर मातहत समितिमा हस्तक्षेप नगर्ने जस्ता स्पष्ट सहमतिहरू बनेका थिए। तर वार्ता टोली भंग भएपछि हर्क पक्षसँग दूरी बढेको र एकता अब ठप्प भएको नेताहरूले बताएका छन्।

युएईको आक्रमणमा तीन भारतीय घाइते भएपछी भारत उग्र

काठमाडौं। संयुक्त अरब इमिरेट्सको फुजैराह क्षेत्रमा भएको आक्रमणप्रति भारतले कडा आपत्ति जनाएको छ। भारतले उक्त आक्रमणलाई ‘पूर्णतः अस्वीकार्य’ भन्दै यस्ता गतिविधि तत्काल रोक्न माग गरेको हो।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आक्रमणमा तीन भारतीय नागरिक घाइते भएको पुष्टि गर्दै घटनालाई गम्भीर रूपमा लिइएको उल्लेख गरिएको छ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका छन्, ‘यो पूर्णतः अस्वीकार्य छ। हामी यस्ता आक्रमणहरू तत्काल बन्द गर्न र सर्वसाधारण नागरिक तथा उनीहरूका अत्यावश्यक संरचनामाथि लक्षित आक्रमण नगर्न आग्रह गर्दछौं।’

जयसवालका अनुसार भारतले पश्चिम एसियामा शान्ति र स्थिरता कायम गर्न सधैं वार्ता र कूटनीतिक उपायलाई समर्थन गर्दै आएको छ। उनले अन्तर्राष्ट्रिय कानुनअनुसार होर्मुज जलडमरूमध्य हुँदै हुने ढुवानी तथा व्यापार निर्बाध रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।

यसअघि युएईको रक्षा मन्त्रालयले सोमबार इरानबाट प्रहार गरिएका केही क्षेप्यास्त्रहरू आफ्नो रक्षा प्रणालीले अवरोध गरेको दाबी गरेको थियो। उक्त घटनामा तीन जना घाइते भएको विवरण सार्वजनिक गरिएको छ।

रास्वपा सांसद कार्कीको बालेनलक्षित कटाक्ष : ‘ऐलानी जग्गामा बस्ने नागरिक अपराधी होइनन्’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले भूमि आयोगबाट भएका कामहरू अब बन्ने संयन्त्रले अगाडि बढाउनुपर्ने बताएका छन्।

सरकारले हालै अध्यादेशमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बनेको भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयप्रति प्रतिक्रिया जनाउँदै उनले भूमि आयोग खारेज भए पनि त्यसले गरिरहेका कामहरूले निरन्तरता पाउनुपर्ने बताएका हुन्।

‘भूमि आयोग खारेज भए पनि भूमि आयोगबाट भएका कामहरू अब बन्ने संयन्त्रले स्वामित्व लिएर त्यहाँबाट नै अगाडि बढ्ने छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

साथै उनले ऐलानी जग्गामा बस्ने नागरिक अपराधी नभएर वास्तविक पीडित भएको पनि जिकिर गरेका छन्। रास्वपा सांसद केपी खनाल लगायत अन्य केही सांसदको ऐलानी जग्गामा घर रहेको प्रकरण बाहिरिएपछि उनले यस्तो बताएका हुन्। उनका अनुसार फर्जी सुकुम्बासी कारबाहीको विषय भए पनि ऐलानी जग्गामा बस्ने नागरिक अपराधी होइनन्।

उनले अगाडि लेखेका छन्, ‘जानकारीका लागि, फर्जी सुकुम्बासी भने कानुनी कारबाहीको विषय हो। तर ऐलानी जग्गामा बस्नेहरू वर्षौँदेखिका पीडित हुन्, अपराधी होइनन्।’

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति सक्रिय, जेठ पहिलो सातादेखि बचत फिर्ता सुरु हुने (तस्वीरहरू)

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २०८३ वैशाख ९ गतेदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको जनाएको छ। हाल समस्याग्रस्त घोषित सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ बचत फिर्ता हुन बाँकी रहेको समितिले जानकारी दिएको छ।
समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार समस्याग्रस्त सहकारीहरूको समस्या पहिचान, समाधान र व्यवस्थापनका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। यस अवधिमा ऋण असुली, बचत मिलान, आन्तरिक संरचना पुनःसंरचना, सरोकारवालासँग छलफल तथा कार्ययोजना निर्माणका कामहरू निरन्तर अघि बढाइएको समितिले जनाएको छ।
समितिले बचतकर्ताहरूलाई आफ्नो कार्यशैलीबारे जानकारी गराउँदै आगामी योजना पनि सार्वजनिक गरेको छ। सो अनुसार मागदाबी गरेका बचतकर्ताहरूको बचत फिर्ता गर्ने कार्य आगामी जेठ महिनाको पहिलो साताबाट सुरु गरिनेछ।
त्यसैगरी, मागदाबी गर्न छुटेका बचतकर्ताहरूका लागि पुनः आवेदन दिने अवसर आगामी साउनको पहिलो सातामा खुला गरिने जनाइएको छ। बचत मिलान प्रक्रियालाई वैज्ञानिक र न्यायपूर्ण बनाउने उद्देश्यले नयाँ कार्यविधि निर्माण गरिने समितिको भनाइ छ।
समितिले बचतकर्ताहरूलाई आफ्नो कार्यशैलीबारे जानकारी गराउँदै आगामी योजना पनि सार्वजनिक गरेको छ। सो अनुसार मागदाबी गरेका बचतकर्ताहरूको बचत फिर्ता गर्ने कार्य आगामी जेठ महिनाको पहिलो साताबाट सुरु गरिनेछ।
त्यसैगरी, मागदाबी गर्न छुटेका बचतकर्ताहरूका लागि पुनः आवेदन दिने अवसर आगामी साउनको पहिलो सातामा खुला गरिने जनाइएको छ। बचत मिलान प्रक्रियालाई वैज्ञानिक र न्यायपूर्ण बनाउने उद्देश्यले नयाँ कार्यविधि निर्माण गरिने समितिको भनाइ छ।
समितिले कर्जा असुलीलाई प्राथमिकतामा राख्दै कानुनअनुसार कडाइका साथ अघि बढ्ने स्पष्ट पारेको छ। किस्ताबन्दीमा कर्जा तिर्न लिखित प्रतिबद्धता जनाउने ऋणीलाई भने निश्चित समयसीमा उपलब्ध गराइनेछ।
ऋण असुली प्रभावकारी बनाउन दबाबमूलक उपायहरू समेत अपनाइने जनाइएको छ। यसअन्तर्गत ऋणीहरूको तीन पुस्तेसम्मको नामावली सार्वजनिक गर्ने र परिवारका सदस्यहरूलाई समेत कालोसूचीमा राख्ने व्यवस्था लागू गरिने उल्लेख गरिएको छ।
समितिले गुनासो व्यवस्थापन र सूचना प्रवाहलाई नियमित बनाउने बताउँदै आफ्नो कार्यसम्पादन अझ प्रभावकारी बनाउन विज्ञ तथा सचेत नागरिकसँग सुझाव र सहयोगको अपिल गरेको छ।
 

धुम्रपान गर्नुहुन्छ? सावधान! यस्ता छन् असरहरु

काठमाडौं। धेरै मानिसलाई धुम्रपानका हानिकारक असरबारे थाहा हुँदाहुँदै पनि निकोटिन को लतका कारण उनीहरू यसबाट टाढा रहन सक्दैनन्। बढ्दो तनाव, सामाजिक प्रभाव र गलत बानीका कारण धुम्रपान विश्वव्यापी रूपमा फैलिएको गम्भीर समस्या बनेको छ।

धुम्रपानमा पाइने निकोटिनले मस्तिष्कमा तुरुन्त प्रभाव पार्दै अस्थायी सन्तुष्टि दिने अनुभूति गराउँछ। यही कारण मानिसले बारम्बार चुरोट सेवन गर्न थाल्छ र क्रमशः लत बस्दै जान्छ। समयसँगै शरीर निकोटिनमा निर्भर बन्ने भएकाले धुम्रपान छोड्न निकै कठिन हुन्छ।

धुम्रपानले स्वास्थ्यमा गम्भीर असर पार्छ। चुरोटको धुवाँमा रहेका विषाक्त पदार्थहरूले फोक्सोका कोषहरू नष्ट गर्छन्, जसले गर्दा फोक्सोको क्यान्सर हुने जोखिम अत्यधिक बढ्छ। साथै, दीर्घकालीन खोकी, दम र सास फेर्न गाह्रो हुने समस्या देखिन्छ।

यसले रगतमा कोलेस्ट्रोल बढाउने र रक्तनलीहरू साँघुरा बनाउने काम गर्छ। त्यसका कारण मुटुरोग, उच्च रक्तचाप र हृदयघातको सम्भावना बढ्छ।

धुम्रपान गर्ने व्यक्तिको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ। त्यसैले सामान्य संक्रमणदेखि गम्भीर रोगसम्म लाग्ने जोखिम बढ्छ, र मधुमेह तथा मोतिबिन्दु जस्ता समस्याहरू पनि देखिन सक्छन्।

धुम्रपानले छालाको प्राकृतिक चमक हराउँछ। छाला फुस्रो, पहेँलो र चाउरी पर्ने हुन्छ, जसले मानिसलाई समयभन्दा अघि बुढो देखिन बाध्य बनाउँछ।

यसले दाँत पहेँलो बनाउने, गिजा बिगार्ने र मुखमा घाउ (अल्सर) गराउने गर्छ। लामो समयसम्म सेवन गर्दा हड्डी कमजोर हुने समस्या पनि देखिन्छ।

महिलाहरूमा धुम्रपानले प्रजनन स्वास्थ्यमा असर पार्छ। महिनावारी अनियमित हुने, बाँझोपनको जोखिम बढ्ने तथा गर्भावस्थामा भ्रूणको विकासमा समस्या ल्याउने सम्भावना रहन्छ।

धुम्रपान गर्ने गर्भवती महिलामा शिशुको समयपूर्व जन्म वा मृत्युको जोखिम पनि उच्च हुन्छ।

धुम्रपानले मानसिक र यौन स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्छ। यसले तनाव कम गर्ने होइन, बरु दीर्घकालीन रूपमा थकान, टाउको दुखाइ र मानसिक तनाव बढाउँछ।

नियमित धुम्रपान गर्नेहरूमा यौन दुर्बलताको समस्या पनि देखिन सक्छ।

विभिन्न अध्ययनका अनुसार धुम्रपान गर्ने व्यक्तिको आयु औसतभन्दा करिब ८ वर्ष कम हुन्छ।

त्यसैले, धुम्रपानलाई सामान्य बानीको रूपमा होइन, गम्भीर स्वास्थ्य जोखिमको रूपमा बुझ्दै यसबाट टाढा रहनु वा सकेसम्म चाँडो यसको लत त्याग्नु नै स्वस्थ जीवनतर्फको सही कदम हो।

चीनमा एम्बोडिड एआई र रोबोटिक्स बिकाश : अमेरिका हेरेको हेर्‍यै

एजेन्सी। आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स क्षेत्रमा चीन तीव्र गतिमा अगाडि बढिरहेको देखिएको छ। प्रयोगशालामा सीमित रहेको रोबोट प्रविधि अब दैनिक जीवनमा प्रवेश गर्न थालेको छ जसले चीनलाई विश्व रोबोटिक दौडमा अग्रणी देशमध्ये एक बनाइरहेको छ।

चीनले हाल एम्बोडिड एआई प्रविधिलाई तीव्र रूपमा अपनाइरहेको छ। यो यस्तो प्रविधि हो जसमा एआई प्रणालीलाई भौतिक रोबोटमा समावेश गरिन्छ जसले वातावरण बुझ्न निर्णय लिन र वास्तविक संसारमा काम गर्न सक्छ।

५८ डटकम सम्बन्धी रिपोर्टअनुसार मार्च महिनामा चीनमा सरसफाइ सेवामा मानव श्रमिकसँगै रोबोट पनि प्रयोग हुन थालेको छ। एक्स स्क्वायर रोबोट नामक स्टार्टअपले विकसित गरेको करिब १.५ मिटर अग्लो रोबोट सरसफाइ कार्यमा प्रयोग भइरहेको छ।

उक्त रोबोटले टेबल पुछ्ने भुइँ सफा गर्ने जस्ता काम गर्छ भने मानव श्रमिकले कठिन ठाउँहरू जस्तै भित्ताको चिल्लो हटाउने र टायल सफा गर्ने काम गर्छन्। रिपोर्टअनुसार रोबोटको प्रयोगले कामको बोझ करिब ३० प्रतिशतसम्म घटाएको छ।

यस कम्पनीलाई बाइटडान्स मेइतुआन शाओमी र अलिबाबा जस्ता ठूला प्रविधि कम्पनीहरूको समर्थन रहेको बताइएको छ। सेवाको लागत पनि मानव श्रमिकको सरसफाइ शुल्कसँग मिल्दोजुल्दो रहेको जनाइएको छ।

त्यसैगरी चीनका सहरहरूमा ट्राफिक व्यवस्थापनमा पनि रोबोट प्रयोग सुरु भएको छ। हाङ्चाउ शहरमा मे डेको बिदाको समयमा एआई-सञ्चालित १५ वटा ट्राफिक रोबोट तैनाथ गरिएको थियो।

यी रोबोटहरूले पैदल यात्रीलाई निर्देशन दिने साइकल चालकलाई सचेत गराउने र ट्राफिक नियन्त्रणमा सहयोग गर्ने काम गरिरहेका छन्। यी रोबोटहरू ठूला भाषा मोडेल सँग एकीकृत रहेको जनाइएको छ।

चीनको एआई प्लस पहल अन्तर्गत सन् २०३० सम्म अर्थतन्त्रको ठूलो हिस्सामा एआई समावेश गर्ने लक्ष्य राखिएको छ। यसले देशलाई प्रविधि र रोबोटिक्स क्षेत्रमा विश्व नेतृत्वतर्फ अघि बढाइरहेको विश्लेषण गरिएको छ।

विशेषज्ञहरूका अनुसार चीनले उत्पादन सेवा र सार्वजनिक व्यवस्थापनसम्म रोबोट विस्तार गरेसँगै विश्व रोबोटिक्स प्रतिस्पर्धामा अमेरिका र अन्य देशभन्दा अगाडि बढिरहेको देखिन्छ।

वैशाख २८ मा संसद अधिवेशन आह्वानका लागि सिफारिस गर्ने सरकारको निर्णय (भिडियो)

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि संसद बैठक आह्वान गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार दुवै सदनको बैठक दिउँसो २ बजे बस्नेछ। सरकारले पठाएका ८ वटै अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि संसद बैठक आह्वानका लागि सिफारिस गरिएको हो।

यसअघि वैशाख १७ गतेका लागि बोलाइएको संसद बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो।

अमेरिकी आक्रमण : पाँच जनाको मृत्यु

एजेन्सी । अमेरिकी सेनाले गरेको कार्गो डुङ्गा आक्रमणमा पाँच जना सर्वसाधारणको मृत्यु भएको इरानको तस्निम समाचार एजेन्सीले मङ्गलबार जनाएको छ।

समाचार अनुसार अमेरिकी सेनाले छ वटा इरानी डुङ्गाहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरिएको छ। तर इरानले आफ्ना कुनै पनि लडाकू जहाज प्रभावित नभएको जनाएको छ।

ओमानको तट नजिक खसाबबाट इरानतर्फ जाँदै गरेका दुई वटा कार्गो डुङ्गामा आक्रमण हुँदा डुङ्गामा सवार पाँच जना सर्वसाधारण यात्रुको मृत्यु भएको रिपोर्टमा उल्लेख छ।

अमेरिकी सेनाका कमाण्ड प्रमुख ब्राड कूपरका अनुसार स्ट्रेट अफ होर्मुज क्षेत्रमा छ वटा इरानी डुङ्गा डुबाइएको दाबी गरिएको छ। उनले अमेरिकी हेलिकप्टरमार्फत कारबाही गरिएको पनि बताएका छन्।

घटनाबारे दुबै पक्षका दाबी फरक–फरक रहेका कारण वास्तविक विवरण अझै स्पष्ट हुन बाँकी रहेको जनाइएको छ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय सिंहदरबारमा बसिरहेको छ । केहीबेर अघि बैठक सुरु भएको हो ।

यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

सहकारीमा अड्किएको बचत फिर्ता जेठ पहिलो सातादेखि सुरु हुँदै

काठमाडौं। समस्याग्रस्त सहकारीमा अड्किएको बचत फिर्ता प्रक्रिया जेठको पहिलो साताबाट सुरु हुने भएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार सार्वजनिक गरेको कार्ययोजनाअनुसार माग दाबी गरेका बचतकर्ताहरूलाई प्राथमिकताका आधारमा रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ।

समितिका अनुसार जेठको पहिलो साताबाट बचत फिर्ता कार्य औपचारिक रूपमा सुरु गरिनेछ। त्यसैगरी, माग दाबी छुटेका बचतकर्ताका लागि साउनको पहिलो सातादेखि पुनः दाबी गर्ने अवसर खुला गरिने पनि जनाएको छ।

समितिले कर्जा असुली प्रक्रियालाई थप कडा बनाउने जनाएको छ। ऋणीहरूलाई किस्ताबन्दीमा कर्जा तिर्न लिखित प्रतिबद्धता दिएमा निश्चित समय उपलब्ध गराइनेछ। तर भुक्तानी नगर्ने ऋणीहरूको तीनपुस्ते विवरण सार्वजनिक गर्ने र उनीहरू तथा परिवारका सदस्यलाई समेत कालोसूचीमा राख्ने चेतावनी दिइएको छ।

समितिका अनुसार हाल देशभरका समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ।

बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु हुने घोषणाले लामो समयदेखि पर्खाइमा रहेका पीडितहरूमा आशा पलाएको भए पनि सम्पूर्ण रकम फिर्ता हुने समयरेखा भने अझै स्पष्ट भइसकेको छैन।

जान्हवी कपुरको विवाहको हल्ला के हो ?

काठमाडौँ ।  बलिउड अभिनेत्री जाह्नवी कपूर र शिखर पहाडियाको विवाहबारे केही समयदेखि फैलिरहेका हल्लाहरू अन्ततः गलत ठहरिएका छन्। 

जाह्नवीका बुवा तथा फिल्म निर्माता बोनी कपूरले यो वर्षको अन्त्यतिर गुजरातको जामनगरमा विवाह हुने भन्ने खबर आधिकारिक रूपमा असत्य भएको स्पष्ट पारेका छन्।

केही भारतीय मिडिया रिपोर्टहरूमा सेप्टेम्बर-अक्टोबर बीच विवाह हुने अनुमान गरिएको थियो। तर ई-टाइम्ससँगको कुराकानीमा बोनी कपूरले ती सबै दाबीहरूलाई पूर्ण रूपमा खारेज गरेका छन्।

शिखर पहाडिया कपूर परिवारका नजिकका साथी मानिन्छन्। उनीहरूलाई पारिवारिक कार्यक्रम, बिदा बिदाने तथा मन्दिर भ्रमणमा प्रायः सँगै देखिने गरिन्छ। साथै, जाह्नवीले ‘कफी विद करण’ कार्यक्रममा पनि आफू रिलेशनशिपमा रहेको अप्रत्यक्ष संकेत दिएकी थिइन्।

जाह्नवी र शिखरको सम्बन्ध लामो समयदेखिको हो। सन् २०१६ तिर केही समय डेट गरे पनि उनीहरू छुट्टिएका थिए। तर पछिल्ला वर्षहरूमा दुवै फेरि सँगै देखिन थालेका छन्।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

 हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

ओमानलाई नेपालले दियो २५७ रनको लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानलाई नेपालले २५७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल अन्तिम बल बाँकी छँदै २५६ रनमा अलआउट भयो।

नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ९४ रन जोडे। उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे, तर शतक बनाउन ६ रनले चुके।

अर्का ओपनर विनोद भण्डारी भने खाता नै नखोली डकआउट भए।
तेस्रो नम्बरमा ब्याटिङ गरेका अर्जुन कुमालले ८७ बलमा ४ चौका प्रहार गर्दै ४८ रन बनाए, अर्धशतकबाट २ रनले चुके।

कप्तान रोहितकुमार पौडेलले १६ बलमा ९ रन जोडे भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४२ बलमा ३३ रन योगदान दिए।
गुल्सन झा १७ रनमा आउट भए।

अन्त्यतिर आरिफ शेखले विस्फोटक ब्याटिङ गर्दै २४ बलमा १ चौका र ४ छक्का सहित ४३ रन बनाए। उनी अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरेपछि आउट भएका थिए।

अन्यतर्फ करण केसी ० रन, नन्दन यादव २ रन र सन्दीप लामिछाने १ रनमा आउट भए।

ओमानका नदीम खानले ३ विकेट लिँदा, सकील अहमद र हसनइन शाहले २–२ विकेट लिए।

यो श्रृंखलामा नेपालले यसअघि युएईलाई दुवै खेलमा पराजित गरेको थियो। तर ओमानसँगको पहिलो भिडन्तमा भने नेपाल पराजित भएको थियो।

अंक तालिकामा ओमान २७ खेलबाट ३१ अंकसहित तेस्रो स्थानमा छ।
सातौं स्थानको नेपालले २३ खेलबाट १६ अंक जोडेको छ भने पुछारमा रहेका युएईका २४ खेलबाट १४ अंक छन्।

बुढानिलकण्ठबाट ३ जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका–१ घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–९ बस्ने ३१ वर्षीय शक्ति राई, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–१ घर भई बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ३९ वर्षीया बिमला दोङ, र सिन्धुपाल्चोककै गोकर्णेश्वर नगरपालिका–५ बस्ने ३१ वर्षीय रोशन तामाङ रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का अनुसार पक्राउ परेकामध्ये शक्तिले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै एक जनाबाट १ लाख ९५ हजार रुपैयाँ लिएका थिए। त्यस्तै बिमलाले अजरबैजान पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १३ लाख ६० हजार रुपैयाँ असुलेकी थिइन्।

रोशन तामाङले क्यानडा पठाइदिन्छु भन्दै एक जनाबाट २४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि उनीहरू पक्राउ परेका हुन्।

प्रहरीले शक्तिलाई बुढानिलकण्ठबाट बिहीबार, बिमलालाई ललितपुरको ग्वार्कोबाट शुक्रबार र रोशनलाई गोकर्णेश्वरबाट शनिबार पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

सुकुमवासी बस्ती कसरी हटाइयो भन्दै सर्वोच्चले माग्यो लिखित आदेश(भिडियो)

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाभित्र रहेका सुकुमबासी तथा अव्यवस्थित बस्तीहरूलाई बलपूर्वक हटाइएको घटनाबारे सरकारसँग लिखित जवाफ माग गरेको छ।

न्यायाधीश सुनील कुमार पोखरेलको एकल इजलासले माजिद अन्सारीलगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै जवाफ माग गरेको हो। विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका निकायहरूलाई १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नुपर्ने सर्वोच्चको आदेशमा छ ।

अदालतले नेपाल सरकारले ल्याएको १०० बुँदे शासकीय सुधारको दस्तावेज र आवासको हक सम्बन्धी ऐन, २०७५ को दफा ५ बमोजिम अनिवार्य प्रक्रिया पूरा गरिएको छ कि छैन भन्ने विषयमा पनि स्पष्टीकरण मागेको छ। साथै, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको सामूहिक बस्ती खाली गराउने र घर टहरा भत्काउने कार्य कुन कानुनी आधारमा गरिएको हो भनी सरकारलाई प्रश्न गरेको छ।

अदालतले हटाइएका परिवारहरूको पुनर्वास, खानपिन, ज्येष्ठ नागरिक तथा बिरामीहरूको उपचार, अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सेवा, तथा बालबालिकाको शिक्षा जस्ता वैकल्पिक व्यवस्थाहरूका सम्बन्धमा पनि लिखित जवाफ मागेको छ। 

आदेशअनुसार सरकारले बस्तीबाट विस्थापित नागरिकहरूको लगत संकलन तथा प्रमाणीकरणको पछिल्लो अवस्थाबारे जानकारी गराउनुपर्नेछ। साथै, बस्तीभित्र भत्काइएका विद्यालय, मठ मन्दिर, गुम्बा र मस्जिदहरूको विवरण र व्यवस्थापनका लागि भइरहेका कार्यहरूको जानकारी पेस गर्न पनि निर्देशन दिएको छ।

वैशाख १६ गते सूचना जारी गरी १७ गतेभित्र सामान सार्न र १८ गतेदेखि बस्ती खाली गराउने सरकारको निर्णयविरुद्ध रिट दायर गरिएको थियो। बस्ती खाली गराउने कार्य तत्काल रोक्न माग गरिएको अन्तरिम आदेश सम्बन्धमा अदालतले दुवै पक्षको भनाइ सुन्नु आवश्यक ठहर गर्दै आगामी वैशाख २३ गते छलफलका लागि बोलाएको छ।

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी(भिडियो)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्।

अघिल्लो साता मन्त्रिपरिषद्ले सिफारिस गरेको यही अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए। तर सरकारले कुनै संशोधन नगरी सोमबार पुनः उही अध्यादेश राष्ट्रपतिलाई पठाएको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलबार अध्यादेश जारी गरेका हुन्।

राष्ट्रपतिले अध्यादेशमा प्रस्तावित निर्णय प्रक्रियासम्बन्धी प्रावधानप्रति आपत्ति जनाउँदै फिर्ता पठाएका थिए। प्रस्तावित व्यवस्थाअनुसार संवैधानिक परिषद्को बैठकमा ४ सदस्य उपस्थित भए बैठक वैध हुने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्ने व्यवस्था गरिएको छ।

यसले ६ सदस्यीय परिषद्मा ३ जनाले मात्र निर्णय लिन सक्ने स्थिति पैदा हुने भएकाले ‘कुल सदस्य संख्याको बहुमत’ भन्ने मर्म कमजोर हुने राष्ट्रपतिको भनाइ थियो।

निर्णय गर्दा उपस्थित सदस्य होइन, कुल सदस्य संख्याको बहुमतलाई आधार बनाइनुपर्ने उनको धारणा थियो । यही कारण उनले अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए।

तर सरकारले सोही प्रावधान रूपमै दोहोर्‍याएर पठाएपछि राष्ट्रपति अध्यादेश जारी गर्न बाध्य बनेका हुन्। संविधानमा राष्ट्रपतिले अध्यादेश फिर्ता गरेपछि कार्यकारीले पुनर्विचार नगरेको अवस्थामा के गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था छैन।

यद्यपि संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएका विधेयकको सन्दर्भमा भने राष्ट्रपतिले अर्थबाहेक अन्य विधेयक एकपटक मात्र फिर्ता पठाउन सक्ने प्रावधान छ।

रास्वपा सांसदलाई २ दिने प्रशिक्षण दिइदै(भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूका लागि दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। प्रशिक्षण विभाग प्रमुख विपिन आचार्यका अनुसार वैशाख २६ र २७ गते बिहान ११ बजेदेखि साँझ ५ बजेपछि सम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रशिक्षण सञ्चालन हुनेछ।

सांसदहरूले शपथ लिनेभन्दा अघि पनि रास्वपाले आवासीय प्रशिक्षण गराएको थियो। यसपटकको कार्यक्रम भने संसदीय अभ्यासका पक्षहरू र संसद्मा प्रभावकारी भूमिका कसरी निर्वाह गर्ने भन्ने विषयमा केन्द्रित हुनेछ।

आगामी बजेट अधिवेशन नजिकिँदै गर्दा सांसदहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो प्रशिक्षण आयोजना गर्न लागेको पार्टीले जनाएको छ।