`

छाया कम्प्लेक्स तत्काल भत्काउन माग(तस्वीरहरू)

काठमाडौं। थाहिति (ठमेल) क्षेत्रको सार्वजनिक कमलपोखरी मासेर निर्माण गरिएको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै सम्पदा संरक्षण नेपालले प्रदर्शन गरेको छ।

संस्थाका सभापति कबिर डंगोललगायतले सर्वोच्च अदालततर्फ फर्केर माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले सार्वजनिक सम्पदा मासेर निर्माण गरिएको संरचना हटाउनुपर्ने माग गरेका छन्।

 

 

एमआरपीमा पछि सर्यो सरकार : भन्सारबाट छुट्न थाले मालवाहक ट्रक

काठमाडौं। सरकारले भन्सार बिन्दुमै आयातित वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने निर्णय कडाइका साथ लागू गर्न थालेपछि देखिएको अन्योल र व्यापारिक नाकामा उत्पन्न गतिरोध तत्कालका लागि अन्त्य भएको छ।

एमआरपी सम्बन्धी विवादका कारण रोकिएको भन्सार जाँचपास प्रक्रिया बुधबारदेखि पुनः सुरु भएको छ। भन्सार विभाग र व्यवसायीबीच भएको सहमतिपछि नाकाबाट सामानको जाँचपास फेरि सुरु गरिएको हो।

भन्सार विभागले आयातकर्तालाई एमआरपी आफैं घोषणा गर्न दिने व्यवस्था गर्दै तत्कालका लागि मालसामान भित्र्याउने बाटो खुला गरेको छ। सहमति अनुसार व्यवसायीले भन्सारमा वस्तुको एमआरपी स्वघोषणा गर्नुपर्नेछ भने ती वस्तुमा एमआरपी लेबल आफ्नै गोदाममा लगाएर मात्र बजारमा पठाउन पाउने व्यवस्था गरिएको छ।

बजारमा पठाउँदा मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने सर्तसहित यो प्रक्रिया लागू गरिएको हो। यससँगै वीरगञ्ज, विराटनगरलगायत प्रमुख नाकाबाट जाँचपास प्रक्रिया पुनः तीव्र बनेको छ।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार आयातकर्ताको स्वघोषणाका आधारमा जाँचपास गर्ने निर्देशन सबै भन्सार कार्यालयलाई दिइएको छ। उनका अनुसार तत्कालका लागि समस्या समाधान भए पनि एमआरपी कार्यान्वयनमा अझै तीन महिनाको संक्रमणकालीन समय दिइएको छ।

यस निर्णयसँगै भन्सार राजस्व संकलनमा पनि वृद्धि देखिएको विभागले जनाएको छ। बुधबार एकै दिन भन्सार बिन्दुहरूबाट करिब १ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३० चैत २०८२ मा जारी सूचना अनुसार १५ वैशाख २०८३ देखि एमआरपी अनिवार्य गर्ने नियम लागू गर्ने तयारी गरेको थियो। तर भन्सारमै प्रत्येक वस्तुमा लेबल लगाउनु व्यवहारिक नभएको भन्दै व्यवसायीहरूले आपत्ति जनाउँदै आएका थिए।

उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार बजारमा बिक्री हुने वस्तुमा लेबल अनिवार्य हुनुपर्ने र आयातित वस्तुको लेबल लगाउने जिम्मेवारी पैठारीकर्तामाथि हुने प्रावधान छ। तर भन्सारमै लेबल अनिवार्य गर्दा व्यापारिक प्रक्रिया प्रभावित हुने भन्दै विरोध भएपछि सरकारले अस्थायी समाधान निकालेको हो।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमका अनुसार नाकामा रोकिएका हजारौं ट्रक र बिग्रिन सक्ने मालसामानका कारण व्यवसायी र सरकार दुवैलाई ठूलो नोक्सानी भएको थियो। उनका अनुसार अहिलेको सहमतिले तत्कालका लागि राहत दिएको छ।

व्यवसायीहरूले आगामी बजेटमार्फत यो व्यवस्था थप व्यावहारिक र स्पष्ट बनाउन माग गरेका छन्। साथै, वस्तुको प्रकृति अनुसार छुट्टाछुट्टै लेबलिङ नीति आवश्यक रहेको उनीहरूको भनाइ छ।

सरकारले भने आगामी आर्थिक ऐन वा कानुनी संशोधनमार्फत एमआरपी व्यवस्थालाई अझ स्पष्ट बनाउने संकेत गरेको छ।

नेपाल टिम च्याम्पियन

काठमाडौं। काभ्रेको धुलिखेलमा सम्पन्न सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ। अन्तर्राष्ट्रिय सभात महासंघ र एसियन सभात कन्फेडेरेसनको प्राविधिक तथा अफिसियल सहयोगमा नेपाल सभात संघले प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै कुल ३१ स्वर्ण, २० रजत र ३० कांस्य पदक जितेर टिम च्याम्पियन बन्न सफल भएको हो। भारतले १८ स्वर्ण, २७ रजत र २२ कांस्यसहित दोस्रो स्थान हासिल गर्‍यो भने इन्डोनेसिया ३ स्वर्ण, ४ रजत र १ कांस्यसहित तेस्रो स्थानमा रह्यो।

च्याम्पियनसिपमा विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा विशेष सम्मानहरू पनि प्रदान गरिएको थियो। नेपालकी अमृता तामाङले फेयर प्ले अवार्ड प्राप्त गरिन्। यस्तै उज्बेकिस्तानका मास्रपोभ ओमिदिल्लो पुरुषतर्फ र भारतकी वातन्पाई महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए।

यसैगरी हिमालयन अन्तर्राष्ट्रिय खुल्ला सभात च्याम्पियनसिप अन्तर्गत न्युजिल्यान्डका ५८ वर्षीय बार्नी भ्याकी र ५४ वर्षीय फ्रान्सिस भेसेतुलुले भेट्रान्स एक्सिलेन्स अवार्ड प्राप्त गरेका छन्।

प्रतियोगितामा एसियाका विभिन्न ९ देशका करिब ३ सय खेलाडीको सहभागिता रहेको थियो। आयोजकका अनुसार अन्तिम समयमा थाइल्यान्ड, इरान, बंगलादेश र जापानका खेलाडी विभिन्न कारणले प्रतियोगितामा सहभागी हुन सकेनन्।

यसैबीच, आठौं एसियन सभात च्याम्पियनसिप आयोजना गर्न इन्डोनेसियाले प्रस्ताव गरेको आयोजकले जनाएको छ।

तमिल सुपरस्टार विजयको नेटवर्थ कति ?

एजेन्सी। तमिल सुपरस्टार तथा राजनीतिज्ञ विजयको राजनीतिक उचाइसँगै उनको आर्थिक हैसियत पनि चर्चामा आएको छ। उनकाे पार्टी तमिलगा वेत्री कझगमले अभूतपूर्व जित हासिल गर्दै सरकार गठनतर्फ अघि बढिरहेको छ।

मार्च २०२६ मा पेश गरिएको निर्वाचन विवरणअनुसार विजयको कुल सम्पत्ति करिब ६२४ करोड भारु रहेको उल्लेख गरिएको छ। यसमध्ये ४०४ करोड भारु चल सम्पत्ति र २२० करोड भारु अचल सम्पत्ति रहेको विवरणमा देखाइएको छ। चलचित्र, विज्ञापन र रियल स्टेट व्यवसायबाट उनले ठूलो आम्दानी गरेको बताइएको छ।

विवरणअनुसार विजयसँग विभिन्न बैंक खातामा ठूलो रकम जम्मा छ। विशेषगरी इन्डियन ओभरसिज बैंकमा मात्रै २१३ करोड भारुभन्दा बढी मौज्दात रहेको उल्लेख छ। यस्तै एक्सिस बैंक, एचडीएफसी बैंक र एसबीआईमा पनि करोडौं रुपैयाँ बराबरका फिक्स्ड डिपोजिट रहेको बताइएको छ। उनले विभिन्न कम्पनीमा लगानी गर्नुका साथै परिवारका सदस्यलाई ऋण तथा अग्रिम रकम दिएको विवरणमा उल्लेख गरिएको छ।

विजयसँग महँगा गाडीहरूको ठूलो संग्रह पनि रहेको छ। उनीसँग बीएमडब्लू ५३०, टोयोटा लेक्सस ३५०, टोयोटा भेलफायर, बीएमडब्लू आई–७, रेन्ज रोभर इभोक, अडी ए–८ एल र फोर्ड मस्टाङजस्ता लक्जरी गाडीहरू छन्।

उनको अचल सम्पत्तिमा कोडाइकनालस्थित कृषि भूमि र चेन्नईका विभिन्न क्षेत्रमा रहेका व्यावसायिक तथा आवासीय भवनहरू समावेश छन्। नीलंकराई, सालिग्रामम, पोरुर, मायलापुर र एग्मोर क्षेत्रमा रहेका सम्पत्तिको मूल्य अर्बौं रुपैयाँ रहेको बताइएको छ।

विजयको सबैभन्दा चर्चित सम्पत्ति नीलंकराईस्थित समुद्र किनारको आलिशान बंगला हो। कासुआरिना ड्राइभमा रहेको उक्त घरको मूल्य करिब ७० देखि ८० करोड भारुसम्म रहेको अनुमान गरिएको छ।

निर्वाचन विवरणअनुसार विजयसँग ८८३ ग्राम सुन तथा चाँदीका गरगहना पनि रहेका छन्, जसको मूल्य १ करोड २० लाख भारुभन्दा बढी रहेको उल्लेख छ। उनले कुनै बैंक ऋण वा दायित्व नरहेको बताएका छन्। आर्थिक वर्ष २०२४–२५ मा मात्रै उनले १८४ करोड ५३ लाख भारु आम्दानी गरेको विवरण सार्वजनिक भएको छ।

विजयले सन् १९९९ मा संगीतासँग विवाह गरेका हुन्। उनका एक छोरा जेसन सञ्जय र एक छोरी दिव्या शाशा छन्।

रवि पुगे रामकृष्णको ‘मालती मंगले’ को प्रिमियरमा

काठमाडौं। शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मालती मंगले’ ले प्रिमियर शोमै सकारात्मक प्रतिक्रिया पाएको छ। बुधबार आयोजित प्रिमियरमा फिल्म हेर्ने दर्शक तथा अतिथिहरूले यसको कथा, प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन्।

प्रिमियरमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए। निर्माता तथा गायक रामकृष्ण ढकालका पुराना साथीसमेत रहेका लामिछानेले फिल्मले नेपालमा भन्नैपर्ने महत्वपूर्ण कथा उठाएको बताए।

उनले भने, ‘मैले धेरै पछि फिल्म हेर्ने मौका पाएँ। यो फिल्म निकै राम्रो छ। कमेडी पनि छ, इमोशन पनि छ। कलाकारहरूको अभिनय र संवाद पनि राम्रो छ। निर्देशक नयाँ भए पनि अनुभव भएको जस्तो लाग्छ। म हाँसे पनि, इमोशनल पनि भएँ।’

प्रिमियर शोमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पनि फिल्मको प्रशंसा गरेका थिए। कार्यक्रममा कलाकारहरू कृष्ण मल्ल, शर्मिला मल्ल, किरण केसी, यम बराल, सन्दीप क्षेत्री लगायत फिल्म तथा संगीत क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्म ‘मालती मंगले’ का निर्देशक प्रकु पाण्डेय हुन्। फिल्मको कथा निर्देशक पाण्डेयले नै लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका छन्।

फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्ममा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्।

छायांकन महेश पौडेलले गरेका हुन् भने सम्पादन रोमी मोजेज, रंग संयोजन कृष्ण भण्डारी, ब्याकग्राउन्ड स्कोर सुजिल कर्माचार्य र ध्वनि मिश्रण डिकेश खड्गीले गरेका छन्।

आरआर फिल्म्सले वितरण गर्ने यो फिल्म शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउँदैछ। फिल्मको अग्रिम टिकट बुकिङसमेत खुलिसकेको छ।

‘सुधन’बारे अझै बोलेनन् ‘बालेन’

काठमाडौं। सुधन गुरुङले राजीनामा दिएको १५ दिन बितिसक्दा पनि गृह मन्त्रालयको नयाँ नेतृत्वबारे निर्णय हुन सकेको छैन। बिचौलिया दीपक भट्टसँग सेयर लगानी र अन्य आर्थिक सम्बन्धका विषयमा प्रश्न उठेपछि उनले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए।

तर, राजीनामापछि उनीमाथि लागेका आरोपबारे न त सरकार स्तरबाट ठोस छानबिन प्रक्रिया अघि बढाइएको छ। न त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै औपचारिक अनुशासनात्मक प्रक्रिया सक्रिय भएको देखिएको छ। न त प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) एक शब्द बोलेका छन्।

रास्वपा स्रोतका अनुसार, पार्टी सचिवालय बैठकमा समेत यो विषय औपचारिक एजेन्डा बनेर छलफल भएको छैन। वैशाख २० गते बसेको सचिवालय बैठकमा पनि यसबारे कुनै ठोस निर्णय नभएको प्रवक्ता मनिष झाले पुष्टि गरेका छन्।

उनका अनुसार, ‘छानबिन समिति बनाउने विषयमा पार्टीभित्र विस्तृत छलफल भएको छैन। अनुशासन आयोगले पनि औपचारिक प्रक्रिया अघि बढाएको छैन। आगामी संसद् बैठकमा छलफल हुन सक्ने अपेक्षा छ।’

यसअघि रास्वपा अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले पनि गुरुङ प्रकरणमा छानबिन प्रक्रिया प्रारम्भ नहुनुको कारण स्पष्ट निर्देशन नआउनु रहेको बताएका थिए। प्रारम्भिक रूपमा आयोगले केन्द्रीय समितिको निर्णय कुरेर बसे पनि कुनै स्पष्ट निर्देशन नआएपछि प्रक्रिया रोकिएको जनाइएको छ।

गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं सम्हालेका छन्। तर मन्त्रालयमा पूर्णकालीन मन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता-पार्टीबीच आन्तरिक छलफल अझै निष्कर्षमा पुगेको छैन।

स्रोतका अनुसार, गृह मन्त्रालयको नेतृत्वलाई लिएर रास्वपाभित्रै विभिन्न समूहबीच प्रतिस्पर्धा देखिएको छ। पार्टी सभापति रवि लामिछानेले आफू निकट व्यक्तिलाई मन्त्री बनाउन चाहेको भए पनि प्रधानमन्त्री शाह तत्काल निर्णयमा सकारात्मक नदेखिएको बताइन्छ।

गुरुङको राजीनामापछि महामन्त्री, प्रवक्ता र सचिवालयका केही सदस्यहरूले समेत मन्त्री बन्न चासो देखाएको चर्चा छ। तर अन्तिम निर्णय राजनीतिक समन्वय अभावका कारण अड्किएको स्रोतको भनाइ छ।

यसैबीच, गुरुङलाई लिएर पुनः राजनीतिक पुनरागमनको सम्भावना पनि चर्चा बाहिर आएको छ। स्रोतका अनुसार, उनीमाथि छानबिन प्रक्रिया अघि बढेपछि सफाइ पाएर पुनः गृह मन्त्रालयमै फर्किन सक्ने सम्भावनालाई समेत नकारिएको छैन।

गुरुङले राजीनामा दिने क्रममा आफूमाथि लागेको आरोप अस्वीकार गर्दै नैतिकताको आधारमा पद छोडेको बताएका थिए। उनले पदमा रहँदा स्वार्थको द्वन्द्व नहोस् र निष्पक्ष छानबिनमा बाधा नपरोस् भन्ने उद्देश्यले राजीनामा दिएको दाबी गरेका थिए।

उनी जेनजी आन्दोलनपछि उदाएका राजनीतिक व्यक्तित्व हुन्। पछि रास्वपामा प्रवेश गरेर गृहमन्त्री बनेका गुरुङले केही उच्च-प्रोफाइल पक्राउ आदेशपछि राजनीतिक रूपमा व्यापक चर्चा पाएका थिए। तर दीपक भट्टसँग जोडिएको आर्थिक कनेक्सनको समाचार बाहिरिएपछि उनीमाथि नैतिक प्रश्न उठेको थियो।

हाल गृह मन्त्रालय प्रधानमन्त्रीकै प्रत्यक्ष नियन्त्रणमा रहेको छ भने नयाँ मन्त्री नियुक्ति, छानबिन प्रक्रिया र राजनीतिक निर्णय सबै विषय अन्योलमै रहेका छन्।

रास्वपा पूर्वबजेट छलफल : कुन-कुन मन्त्री बोलायो ?

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी आर्थिक वर्षको बजेट तर्जुमासम्बन्धी पूर्वबजेट छलफलका लागि नेपाल सरकारका दुई मन्त्रीलाई आमन्त्रण गरेको छ।

रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा हुने उक्त छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गणेश) र सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिना सहभागी हुनेछन्।

पार्टीका अनुसार बजेटका प्राथमिकता, नीति तथा कार्यक्रमका सम्भावित दिशाबारे सरकारसँग प्रारम्भिक समन्वय गर्ने उद्देश्यले छलफल आयोजना गरिएको हो।

छलफलमा विशेषगरी पर्यटन प्रवर्द्धन, सूचना प्रविधि विकास, सञ्चार पूर्वाधार विस्तार तथा डिजिटल गभर्नेन्सका विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

कार्यक्रम दिउँसो ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ।

छलफलमा रास्वपाका संघीय सांसदहरू तथा सम्बन्धित क्षेत्रका नीति विज्ञहरूको पनि उपस्थिति रहने बताइएको छ।

रास्वपाले बजेट निर्माण प्रक्रियामा संसदीय दलको सक्रिय भूमिका सुनिश्चित गर्न र सरकारसँग नीति–स्तरको समन्वय मजबुत बनाउन यस्ता पूर्वबजेट छलफललाई निरन्तरता दिँदै आएको जनाएको छ।

इयरबड्स किन्दै हुनुहुन्छ ? यी कुरा थाहापाई राख्नुहोस्

काठमाडौं।  पछिल्लो समयमा इयरबड्स केवल संगीत सुन्ने साधन मात्र नभई दैनिक जीवनको अत्यावश्यक डिजिटल ग्याजेट बनेको छ। अफिस कल, जिम, यात्रा, गेमिङ र मनोरञ्जन सबै क्षेत्रमा यसको प्रयोग बढ्दो छ। बजारमा धेरै विकल्प भएकाले सही इयरबड्स छनोट गर्नु चुनौतीपूर्ण बन्दै गएको छ।

विशेषज्ञहरूका अनुसार केवल डिजाइन वा ब्रान्डको आधारमा होइन, यसको प्राविधिक पक्ष र प्रयोगअनुसार निर्णय गर्नु उपयुक्त हुन्छ।

इयरबड्सको सबैभन्दा महत्वपूर्ण पक्ष साउन्ड क्वालिटी हो। राम्रो इयरबड्सले सन्तुलित बेस, स्पष्ट भोकल्स र बिना डिस्टोर्ट्स स्थिर ध्वनि दिनुपर्छ। उच्च भोल्युममा पनि ध्वनि बिग्रिनु हुँदैन भन्ने कुरा विशेष ध्यान दिनुपर्छ।

न्वाइज क्यान्सिलेसन (एएनसी -एक्टिभ न्वाइज क्यान्सिलेसन) अर्को महत्वपूर्ण फिचर हो। भीडभाड, बस वा ट्रेनजस्ता स्थानमा बाहिरी आवाज कम गरेर शान्त र स्पष्ट अडियो अनुभव दिन यो फिचर निकै उपयोगी हुन्छ।

ब्याट्री लाइफ पनि इयरबड्स छनोटमा महत्वपूर्ण भूमिका खेल्छ। सामान्यतया एक पटक चार्ज गर्दा कम्तीमा ४-५ घण्टा चल्ने र चार्जिङ केससहित २०-२५ घण्टासम्म ब्याकअप दिने मोडेल राम्रो मानिन्छ। फास्ट चार्जिङ सपोर्ट भए अझै उपयोगी हुन्छ।

ब्लुटुथ भर्सन र लेटेन्सी पनि ध्यान दिनुपर्ने पक्ष हो। ब्लुटुथ ५.२ वा माथिको भर्सनले स्थिर कनेक्शन दिन्छ र ब्याट्री बचत गर्छ। गेमिङ गर्ने प्रयोगकर्ताका लागि कम लेटेन्सी भएको इयरबड्स उपयुक्त हुन्छ, किनकि यसले अडियो र भिडियोबीचको ढिलाइ घटाउँछ।

माइक्रोफोनको गुणस्तर पनि विशेष ध्यान दिनुपर्छ। ईएनसी (एन्वाइरोन्मेन्टल न्वाइज क्यान्सिलेसन) वा न्वाइज रिडक्सन फिचर भएको माइकले भीडभाड वा शोरयुक्त वातावरणमा पनि स्पष्ट आवाज पठाउन मद्दत गर्छ, जसले कलिङ अनुभव राम्रो बनाउँछ।

यदि इयरबड्स जिम वा बाहिरी गतिविधिमा प्रयोग गरिन्छ भने आईपी रेटिङ अनिवार्य रूपमा हेर्नुपर्छ। आईपीएक्स-४ वा आईपीएक्स-५ जस्ता रेटिङ भएका इयरबड्सले पसिना र हल्का पानीबाट उपकरणलाई सुरक्षित राख्छन्।

अन्त्यमा, कम्फर्ट र फिटिङ पनि उत्तिकै महत्वपूर्ण हुन्छ। लामो समय प्रयोग गर्दा कान दुख्ने वा इयरबड्स खस्ने समस्या नहोस् भन्नका लागि एर्गोनोमिक डिजाइन र विभिन्न साइजका इयर टिप्स भएका मोडेल रोज्नु उपयुक्त हुन्छ।

यी सबै पक्षलाई ध्यान दिएर इयरबड्स छनोट गर्दा प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार राम्रो, दीर्घकालीन र सन्तोषजनक अनुभव पाउन सक्छन्।

नर्भिक अस्पतालमा पीआईसीयुसहित पूर्ण बालरोग उपचार सेवा विस्तार

काठमाडौं।  नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले बाल सघन उपचार कक्ष (पीआईसीयु) सहितको पूर्ण बालरोग उपचार सेवा सञ्चालनमा ल्याएको छ।

अस्पतालले नवजात शिशुदेखि किशोरावस्थासम्मका बालबालिकालाई एकै स्थानमा सम्पूर्ण उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित बालरोग सेवाको विस्तार गरेको हो।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रका अनुसार अब अस्पतालले आकस्मिक सेवा, ओपीडी, बाल सर्जरी सेवा तथा नवजात र बाल सघन उपचार कक्ष (एनआईसीयु र पीआईसीयु) सहितको विस्तारित सेवा प्रदान गर्नेछ।

उनले नर्भिकमा पहिले नै एनआईसीयु सेवा उपलब्ध रहेको र अब थप आधुनिक उपकरण तथा प्रविधिसहित पीआईसीयु सेवा विस्तार गरिएको बताए। उनका अनुसार दक्ष विशेषज्ञ चिकित्सक र तालिमप्राप्त नर्सिङ जनशक्तिमार्फत सम्पूर्ण बालरोग उपचार सेवा उपलब्ध गराइनेछ।

नर्भिक अस्पतालमा पेडियाट्रिक ग्यास्ट्रोएन्टेरोलोजी, र्‍युम्याटोलोजी, पल्मनोलोजी, न्युरोलोजी, हेमाटोलोजी, क्रिटिकल केयर, अर्थोपेडिक तथा बाल सर्जरीलगायत विशिष्टिकृत सेवाहरू सञ्चालनमा छन्।

अस्पतालमा हाल १३ जना बालरोग विशेषज्ञ तथा बहुविशेषज्ञ चिकित्सक कार्यरत रहेकोमा थप ७ जना नवजात शिशु विशेषज्ञ चिकित्सक पनि जोडिएको अस्पतालले जनाएको छ।

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं। जुम्लाको पातारासी गाउँपालिका-५ का वडाध्यक्ष दत्तबहादुर बुढा बलात्कार आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार २८ वर्षीया महिलाको उजुरीका आधारमा उनलाई बुधबार पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको हो।

प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीका अनुसार घटनासम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।

पीडित महिलाले बुढाले पटक-पटक धम्क्याउँदै आफूलाई बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन्। वडाध्यक्ष बुढा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

कागती किन खाने ?

काठमाडौं । कागती केवल खट्टो स्वाद र ताजगी दिने फल मात्र होइन, विटामिन भरिएको प्राकृतिक स्वास्थ्यबर्धक स्रोत हो । 

कागतीमा सबैभन्दा धेरै पाइने प्रमुख पोषक तत्व भनेको भिटामिन ‘सी’ (एस्कार्बिक एसिड) हो, जसको मात्रा एक मध्यम आकारको नींबूमा लगभग ३०-४० मिलिग्राम हुन्छ। यसले शरीरलाई दैनिक आवश्यक पर्ने भिटामिन ‘सी’ को ४०-५० प्रतिशतसम्म पूर्ति गर्ने क्षमता राख्छ। पानीमा घुल्ने भिटामिन भएकाले शरीरले यसलाई भण्डारण गर्न सक्दैन, त्यसैले दैनिक रूपमा यसको सेवन अत्यावश्यक हुन्छ। 

भिटामिन सीले शरीरको रोग प्रतिरोधक क्षमता बढाउने, फ्री-रेडिकलसँग लडेर कोशिलालाई सुरक्षित राख्ने, छालामा चमक ल्याउने, उमेरसँगै देखिने परिवर्तन कम गर्ने जस्ता महत्वपूर्ण भूमिका खेल्छ। साथै, यो घाउ छिटो निको पार्न र छाला, हड्डी तथा मसूडा मजबुत बनाउन आवश्यक पर्ने कोलेजन उत्पादनमा सहयोग गर्छ।

कागतीमा पाइने भिटामिन बी-६ , पोटाशियम, फाइबर (पेक्टिन) तथा फ्लाभोनोइड्स जस्ता तत्वहरूले पनि शरीरलाई थप फाइदा पुर्‍याउँछन्। यी तत्वहरूले पाचन सुधार्ने, मुटुको स्वास्थ्य मजबुत बनाउने तथा शरीरमा सूजन कम गर्न मद्दत गर्छन्। बिहान पानीमा १ वा २ दाना कागती मिसाएर पिउँदा शरीरबाट टक्सिन निस्किन मद्दत हुन्छ र मेटाबोलिज्म तेज हुन्छ। खानामा कागती निचोरेर खाँदा पाचन सुधारिनुका साथै स्वाद पनि बढ्छ। छालाको चमक कायम राख्न पनि कागती प्रभावकारी मानिन्छ।

यद्यपि कागती खाँदा गर्दा केही कुरामा सावधानी अपनाउन आवश्यक हुन्छ। धेरै मात्रामा वा खाली पेट सिधै कागतीको रस पिउनुले दाँतको इनामेल कमजोर पार्न सक्छ, त्यसैले पानीमा मिसाएर पिउनु उत्तम हुन्छ।  एसिडिटी भएका व्यक्तिले कागतीको सीमित मात्रामा मात्र सेवन गर्नुपर्छ। 

कागती एक सरल, सस्तो र अत्यन्तै फाइदाजनक फल हो, जसको नियमित तथा संतुलित सेवनले इम्युन सिस्टम, छाला, पाचन शक्ति र सम्पूर्ण स्वास्थ्यका लागि ठूलो फाइदा पुर्‍याउँछ।

सुकुम्बासीको दयनीय अवस्था देखेर सांसद गुरुङ स्तब्ध, सरकारसँग तत्काल व्यवस्थापनको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विस्थापित गरिएका सुकुम्बासीहरूको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारसँग तत्काल व्यवस्थापन गर्न माग गरेकी छन्।

भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा राखिएका विस्थापितहरूलाई बुधबार भेटेपछि उनले वृद्धवृद्धा, महिला, बालबालिका र बिरामीहरू अत्यन्त कष्टकर अवस्थामा बस्न बाध्य रहेको बताइन् ।

‘त्यहाँ पुग्दा वृद्ध आमाबुबा, दाजुभाइ, दिदीबहिनी र विशेषगरी बालबालिकाहरूको आँखामा जुन मनोवैज्ञानिक त्रास देखेँ, त्यसले मलाई भित्रैसम्म हल्लाएको छ। उहाँहरूकाे पीडा सुन्दा मात्रै त मन असाध्यै भारी भइरहेकाे छ भने पीडा भाेगिरहनुभएका उहाँहरूलाई कस्तो भइरहेकाे होला ?’उनले भनिन् ।

बालबालिकाहरू शिक्षाबाट वञ्चित भएको उल्लेख गर्दै ‘कहिलेबाट स्कुल जान पाइएला?’  भन्ने चिन्ता उनीहरूमा स्पष्ट देखिएको बताइन्। वृद्ध तथा बिरामीहरूले आवश्यक औषधि र उपचार नपाएको गुनासो गरेको पनि उनले जानकारी दिइन्।

सांसद गुरुङका अनुसार स्वास्थ्य, शिक्षा र आधारभूत व्यवस्थापनको अभावमा विस्थापितहरूको जीवन झन् कष्टकर बन्दै गएको छ।

‘सरकारले उचित प्रबन्ध बिनानै चलाएकाे डाेजर अभियानकाे त्रासदीबाट उहाँहरू अझै मुक्त भइसक्नुभएकाे छैन । सरकारले उहाँहरूलाई अझै आश्वस्त पार्न सकिरहेकाे देखिएन’, उनले भनिन्।

उनले विकासका नाममा नागरिकलाई त्रसित बनाउनु लोकतान्त्रिक मूल्यअनुसार उपयुक्त नहुने उल्लेख गर्दै बालबालिकामा परेको मानसिक असरप्रति पनि चिन्ता व्यक्त गरिन्।

‘खेल्ने र पढ्ने उमेरका नानीबाबुहरू डोजरको आवाज र प्रहरीको उपस्थिति देखेर त्रसित छन्,’उनले सोधिन्, ‘उनीहरूको मानसपटलमा परिरहेको यो नकारात्मक असरको क्षतिपूर्ति कसले गर्ने ?’

उनले विस्थापितहरूका लागि सुरक्षित आवासको ग्यारेन्टी गर्न, स्वास्थ्य सेवा उपलब्ध गराउन र बालबालिका तथा महिलाको सुरक्षामा विशेष ध्यान दिन सरकारसँग जोडदार माग गरेकी छन्।

विस्थापित सुकुम्बासीहरूलाई भेट्न सांसद गुरुङसहित रास्वपा सांसद आशिका तामाङ, राजीव खत्री, एमाले सांसद सुहाङ नेम्बाङलगायत गएका थिए ।

सुदन किरातीबारे हर्क साम्पाङको प्रष्टीकरण: अफवाह नफैलाउनु, ही इज आवर प्राइड

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वमन्त्री सुदन किराती पार्टीको खम्बा बनिसकेको दाबी गरेका छन् ।

साम्पाङले एकपक्षीय रूपमा वार्ता समिति भंग गरेपछि किराती समूहलाई पार्टीमा प्रवेश गराउने प्रक्रिया रोकिएको विवरण सार्वजनिक भइरहँदा अध्यक्ष साम्पाङको यस्तो प्रष्टीकरण आएको हो । किरातीलाई ‘गौरव’को रूपमा साम्पाङले अथ्र्याएका छन् ।

उनले बुधबार सामाजिक सञ्जालमा भने, ‘सुदन किरातीज्यू श्रम संस्कृतिको खम्बा बनेर जोडिसक्नु भएको छ । यो त्यो भनेर अफवाह नफैलाउनु बेकारमा । हि इज आवर प्राइड ।’

किराती प्रगतिशील लोकतान्त्रिक पार्टीबाट केही साताअघि साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिँदै अलग भएका नेता हुन् ।

पूर्वपर्यटनमन्त्री उनले उक्त दलको अध्यक्षमण्डलको एक सदस्य छँदै गत २१ फागुनको निर्वाचनमा सुनसरी–१ र भोजपुरमा श्रम संस्कृति पार्टीलाई सहयोग गरेका थिए ।

चुनावी तालमेललाई भविष्यमा हर्कको दलमा किराती जाने आधारको रुपमा कतिपयले विश्लेषण गरेका थिए ।

‘दाजुभाइले मारकाट गर्नु र त्यसबाट विदेशीले लाभ लिनु लज्जाको कुरो हो’ : बीपी

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को जन्म वि.सं. १९७१ भदौ २४ गते भएको थियो । बीपी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रख्यात साहित्यकार हुन् ।

उनले नेपाली कांग्रेसको नेतृत्व गर्दै नेपालमा प्रजातन्त्र स्थापना र सुदृढीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरे । सन् १९५९ को पहिलो आम निर्वाचनपछि उनी प्रधानमन्त्री बने र करिब १८ महिनासम्म सरकारको नेतृत्व गरे ।

त्यसपछि राजनीतिक परिवर्तनका कारण उनले लामो समय जेल र निर्वासनमा जीवन बिताए । 

बीपी कोइराला घाँटीको क्यान्सरबाट पीडित थिए। उपचारका लागि भारत, बेलायत र अमेरिका पुगे । वि.सं. २०३९ साउन ६ गते काठमाडौंमा उनको निधन भयो ।

नेपाली राजनीतिक इतिहासमा जहानियाँ राणा शासनविरुद्धको संघर्ष संगठित रूपमा अघि बढाउने क्रममा २००३ सालमा ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ गठन भएको थियो।

जसले पछि ‘नेपाली राष्ट्रिय कांग्रेस’ को रूप लियो । यस संस्थाको स्थापना भारतमा रहेका नेपाली बुद्धिजीवी, राजनीतिक कार्यकर्ता तथा स्वतन्त्रता प्रेमीहरूको सक्रियतामा भएको थियो । त्यस आन्दोलनको नेतृत्वमा बीपी कोइरालाको महत्वपूर्ण भूमिका रहेको थियो ।

२००३ साल माघ १२ र १३ गते भारतको कोलकातामा सम्पन्न पहिलो महाधिवेशनमा यही संस्थालाई औपचारिक रूपमा नेपाली राष्ट्रिय कांग्रेसका रूपमा स्थापित गरियो । 

सो ऐतिहासिक महाधिवेशनमा बीपी कोइरालाले उद्घाटन सम्बोधन गरेका थिए। 

बीपीले सम्वोधन गरेको यो दुर्लभ भाषण:

‘साथी हो,

हाम्रो यस सभाले जति कुरामा विचार गर्नुपर्ने थियो। तपाईँहरू सन्मुख विभिन्न प्रस्तावका रूपमा ती सबै उपस्थित भइसके र तपाईँहरूले तिनीहरूमाथि आफ्नो स्वीकृति पनि दिइसक्नुभयो ।

वास्तवमा नेपाल र भारत दुई देश होइनन् । नेपाल जातीय, धार्मिक र आर्थिक दृष्टिबाट हरेक प्रकारले भारत वर्षकै एउटा प्रमुख अङ्ग रहेको देखिन्छ र आज राजनीतिक दृष्टिले जुन भिन्नता देखिन्छ। त्यसको मूलमा कूटनीतिज्ञ र स्वार्थी राजनीतिज्ञहरूको चालबाजी मात्र छ ।  

भारतलाई दासताको जुवा बोकाउने ब्रिटिश शासनले सन् १८५७ को भारतीय जनक्रान्तिपछि हिन्दूस्तानमा उसको राज्य केवल फुटले मात्र कायम हुनसक्छ भन्ने अनुभव गन्यो ।

 यसको प्रत्यक्ष दृष्टान्त ब्रिटेनले नेपाली र शिखहरूको सहायताबाट त्यस महान् आन्दोलनलाई विफल पार्न सक्नु थियो । त्यस आन्दोलनबाट ब्रिटिश राजनीतिज्ञहरूले शिक्षा लिएर ब्रिटिश राज्यमा भारतका सानासाना राज्यलाई गाभ्ने आफ्नो नीति छाडे । त्यसको परिणाम के भयो भने आजसम्म पनि हाम्रा साथी नेपालीहरू भारतवर्षका आफ्नै दाजुभाइहरूको स्वतन्त्रताको बाटोमा मूढो तेर्स्याउँदै छन् ।

उनीहरूमाथि शत्रुझैं गोली चलाउँदै छन् । आफ्नै देशका दुई थरी दाजुभाइले मारकाट गर्नु र त्यसबाट विदेशीले लाभ लिनु लज्जाको कुरो हो ।

नेपाललाई भारतभन्दा भिन्न देश घोषित गर्दा केवल ब्रिटिश साम्राज्यवादलाई मात्र लाभ छैन बरु यसबाट हाम्रा देशका स्वेच्छाचारी शासकहरूको पनि ठुलो स्वार्थसिद्ध हुन्छ । भनौं, यसैमा उनीहरूको अस्तित्व कायम रहन्छ । 

उनीहरूले भारतभन्दा भिन्न घोषित गरेर नै अशिक्षा र अज्ञानतामा राखिएका आफ्ना सोझा प्रजालाई मूर्ख बनाउँदै भारतवर्षमा चलिरहेको स्वतन्त्रता आन्दोलनबाट अलग राख्न र त्यसको बाधक बनाउन पनि सक्छन् । यसरी अलग हुँदा नेपालका प्रजा पनि उत्तरोत्तर बलवान् हुँदै गइरहेका आफ्ना भारतीय दाजुभाइ, दिदीबहिनीहरूको सहयोग र सहायताबाट वञ्चित हुनेछन् ।

तर, हामी त्यति सजिलै ठगिने छैनौं । ज्ञानको प्रखर ज्योतिले हाम्रा आँखा पनि बिस्तारो–बिस्तारो उघ्रन लागेका छन् । हामीहरूलाई यति चाँडै यतिका सहयोगी प्राप्त हुनु त्यसैको प्रमाण हो । हामीले अब अझै सङ्गठित भएर,

१.नेपालमा अहिंसात्मक साधनद्वारा जनताको सहयोगले उत्तरदायी शासनको स्थापना गर्ने । 

२.भारतीय स्वतन्त्रता-सङ्ग्राममा पनि पूर्ण सहयोग दिने आफ्नो संस्थाका यी उद्देश्यलाई प्रत्येक नेपाली दाजुभाइ, दिदीबहिनीको कानसम्म पुर्याएर उनीहरूको सहानुभूति र सहयोग प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ । 

किनभने जनताको राज्य स्थापित गर्नका लागि जनताकै सहायता चाहिन्छ । यो काम सम्पन्न गर्न लुकेर वा गुप्त सङ्गठनद्वारा त्यति सजिलो हुँदैन । नेपाल प्रजापरिषद्को विफलता र भारतमा क्रान्तिकारी ’दलको असफलताले यो कुरा सिद्ध गरिसकेको छ ।

म मान्दछु, नेपालको वर्तमान शासन प्रणाली शिथिल भइसकेको छ । सुधारवादीहरूको साधारणभन्दा साधारण कामले पनि अपराधी शासकहरू तर्सन्छन् र उनीहरूलाई बलपूर्वक हटाउन गाह्रो छैन । 

तर त्यस अवस्थामा मात्र यो काम सफल हुनसक्छ जब ब्रिटिश शक्ति आफ्ना सहायक यी कठपुतली शासकहरूको सहायताका लागि जनतालाई दमन गर्न तोप र तरबार लिएर हाजिर हुने छैन ।

 यही कारणले हामीले भारतमा ब्रिटिश शासनको अन्त्य गर्नका निमित्त भारतीय स्वतन्त्रता-सङ्ग्रामलाई पनि पूर्ण सहयोग दिने उद्देश्य राख्नु आवश्यक भएको हो । 

यसका अतिरिक्त एउटै उद्देश्य लिएर अग्रसर हुँदा भारत र नेपालका साथीहरूलाई पारस्परिक सहायताले पनि निकै बल दिनेछ र जर्जर भइसकेको ब्रिटिश शासनको नाश अझ छिटो गरिदिनेछ ।

 निःसन्देह, यो काम अखिल भारतीय काँग्रेस महासभाले लिएको अहिंसाको साधनबाटै हुनेछ । त्यसको अभेद्य शक्ति, सुरक्षित प्रयोग र स्थायी प्रभाव कसैको दृष्टिबाट लुकेको छैन ।

हाम्रा वर्तमान शासकहरूले ’हाम्रो देश नेपाल त अझै स्वतन्त्र छ’ भनेर आफ्ना सोझा प्रजालाई छक्याएको देख्दा हाँसो उठ्छ । के स्वतन्त्रताको लक्षण यही हो ? यहाँ रहेको देशव्यापी अशिक्षा र दरिद्रताले मानिस र पशुमा खासै अन्तर छैन । जनतालाई बोल्ने स्वतन्त्रता छैन । हिँड्ने स्वतन्त्रता छैन । विचार गर्ने स्वतन्त्रता छैन । रूने-हाँस्ने स्वतन्त्रता छैन । जनताको मान, इज्जत, जीवन, परिवार, धन, यश केही सुरक्षित छैन ।  

स्वेच्छाचारी शासक वर्गको मर्जी र हुकुमको अगाडि सबै निरीह छन् । यहाँ कानून भनेको केही पनि होइन । केवल प्रभुको हुकुम मात्र ठुलो कुरा हो । 

यो स्वतन्त्रता हो कि ? स्वतन्त्रताको उपहास ? जापान र टर्की पनि नेपालजत्रै राष्ट्र हुन् । तर, नेपाल र उनीहरूमा तुलना गर्नै मिल्दैन । उनीहरूभन्दा हामीहरू कुनै कुरामा हीन थियौँ ? तर किन हाम्रो यस्तो अवस्था छ ? प्रजालाई स्वतन्त्रताको धोकामा राख्ने नेपालका शासकहरूले यसको उत्तर दिन्नन् । हामीहरूले निकै पछि चेत्यौँ । 

संसार हामीभन्दा निकै अगाडि बढिसक्यो । उसलाई हामीहरूले दगुरेर भेट्टाउनुपर्‍यो । अब हामीसँग गँड्यौलाको चालले बामे सर्ने समय छैन । 

नेपाल सरकारले नगरपालिका र अरू त्यस्तै साधारण विभागमा काम गर्ने आफ्ना चाकरियालाई जनताका प्रतिनिधि हुन् भनेर प्रजाका आँखामा छारो हाल्ने समय उहिल्यै बितिसक्यो । हामी नेपालमा उत्तरदायी शासन स्थापना नभई कदापि सन्तुष्ट हुन सक्दैनौँ । 

नेपालको वर्तमान सरकारले जनताको भलो चाहन्छ भने अझै बढी हानि हुनुभन्दा पहिले नै शुद्ध मनले तुरुन्तै यस काममा तत्परता देखाओस् ।

यस सम्बन्धमा म एउटा कुरा अझ स्पष्ट पार्न चाहन्छु  । हाम्रो कुनै वर्ग वा सम्प्रदायसित कदापि शत्रुता छैन । नेपालमा बस्ने वा उससँग कुनै प्रकारको सम्बन्ध हुने सबै व्यक्ति हाम्रा दाजु हुन् ।

 देशको उपकार र उन्नति नै हाम्रो अभीष्ट र लक्ष्य हो । हामी केवल निरङ्कुश स्वेच्छाचार शासनप्रणालीका विरोधी हौं । त्यसकारण कुनै वर्गविशेषले हामीबाट व्यक्तिगत अनिष्ट हुने आशङ्का उचित छैन ।

 हाम्रा निमित्त सबैको सहायता ग्राह्य छ र हामी पनि जाति, वर्ग वा कुलको पर्वाह नगरी योग्यताको विचार गर्दै सबैको सहायक बन्नेछौँ । सम्पूर्ण राष्ट्रको उन्नति र अभ्युदयका लागि नै हामी प्रयत्नशील रहेका छौँ।

समय थोरै छ, काम ठुलो छ । यसकारण नेपाल राष्ट्रका प्रत्येक दाजुभाइ,दिदीबहिनीसित यस संस्थाका कुनै सदस्यले व्यक्तिगत रूपमा पुगेर सहयोग र सहायताका लागि प्रार्थना गर्ने बाटो नपर्खी स्वयं नै हामीलाई सहायता गर्न उपस्थित हुनका लागि नेपाली राष्ट्रिय काँग्रेसका तर्फबाट मेरो नम्र निवेदन छ । 

उनीहरूबाट सहायता प्राप्त गर्ने नै हाम्रो प्रयत्न हो । त्यसकारण उनीहरूले आफ्नो यो संस्थामा अविलम्ब स्वयं आएर यसलाई आफ्नो सहयोग दिँदै यसको शक्ति बढाउनुपर्छ । 

नेपालमा कुनै प्रकारको आर्थिक, राजनीतिक र सामाजिक सम्बन्ध भएका स्त्री-पुरूष यस संस्थाका सदस्य, प्रतिनिधि वा पदाधिकारी बन्न सक्छन् । 

तसर्थ, यस संस्थाको प्रारम्भ गर्न जनताबाट जस्तो उत्साहजनक सहयोग हामीलाई प्राप्त भयो, त्यो उत्तरोत्तर बढ्दै जानेछ र हामीलाई उत्साह, सहयोग र धनसम्बन्धी सहायताको अभाव कहिल्यै हुने छैन भन्ने आशा मात्र होइन, विश्वास पनि छ ।

दाताहरूको सहायतामा नेपाली भाषामै हाम्रो एउटा साप्ताहिक पत्रिका काशीबाट प्रकाशित हुने भएको छ भन्ने सूचना दिँदा मलाई हर्ष लागेको छ । 

यसद्वारा हामीहरू आफ्नो सन्देश, कार्यक्रमको सूचना र आफ्ना राजनीतिक, सामाजिक, धार्मिक र सांस्कृतिक विचारहरू आफ्ना दाजु-भाइ, दिदी-बहिनीहरूसम्म अति शीघ्र र सुगमतापूर्वक पुर्‍याउन सक्नेछौँ । 

यसबीच हाम्रा सन्देशहरू स-साना पुस्तिका तथा बुलेटिनमार्फत प्रचारित हुनेछन् । तिनीहरू सुगमतापूर्वक र छिटो प्राप्त गर्नका निमित्त हामीलाई विशेष चन्दा स्वरूप कम्तीमा पाँच रुपैयाँका साथ आफ्नो ठेगाना अपेक्षित छ ।

मलाई आदरपूर्वक सभापति बनाए बापत तपाइँहरूलाई पुनः धन्यवाद दिन्छु ।

-बन्देमातरम्!!!’

[स्रोतः नेपाली काँग्रेस ऐतिहासिक दस्तावेजहरू]

बालेनलाई बालेनको निर्देशन(भिडियो)

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको अवस्था स्पष्ट गर्न गृह मन्त्रालयलाई विवरण बुझाउन निर्देशन दिएको छ।

अहिले गृहमन्त्रालय प्रधानमन्त्री शाहकै मातहतमा रहेको छ। गृहमन्त्रालय उनले आफैले चलाउछन्। उपत्यकाका सुकुमवासी भत्काउने क्रममा गृहमन्त्रालयले गर्नुपर्ने सबै काम आफै गरे। 

प्रधानमन्त्री कार्यालयले हालै गरेको अध्ययनमा केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरिरहेको र कतिपयले विभिन्न निकायबाट दोहोरो सुविधा समेत लिइरहेको तथ्य फेला परेपछि गृह मन्त्रालयसँग पूर्ण विवरण माग गरिएको हो।

कार्यालयले पठाएको पत्रमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख तथा पूर्वराष्ट्रियसभा अध्यक्षहरूले उपभोग गरिरहेको सुविधाको विस्तृत विवरण आजै कार्यसमयभित्र इमेलमार्फत पठाउन निर्देशन दिइएको छ।

लामो समयदेखि पूर्वविशिष्टहरूले मापदण्डविपरीत सरकारी स्रोतसाधन दुरुपयोग गरिरहेको आलोचना भइरहेका बेला सरकारले देखाएको यो सक्रियता महत्वपूर्ण मानिएको छ। गृह मन्त्रालयबाट विवरण आएपछि मापदण्डभन्दा बढी सुविधा उपभोगकर्ताबाट सवारी साधन फिर्ता गराउने र समग्र प्रक्रियालाई व्यवस्थित बनाउने सरकारको तयारी रहेको बताइन्छ।

सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्रालय खाली छ। 

गुरुङले विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानी प्रकरण सार्वजनिक भएपछि नैतिकताको आधारमा राजीनामा दिएका थिए। तर राजीनामा दिएको १५ दिन बढी बित्दासमेत उनीमाथि छानबिन गर्ने सरकारको कुनै सुरसार छैन। उल्टै, छानबिन खोई ? खोलाले बगायो  भन्ने जस्तै अवस्था बनेको छ। बरु प्रधानमन्त्री शाह गृहमन्त्री गुरुङलाई दोहोर्याउन चाहन्छन् भन्ने चर्चा भने हुन छाडेको छैन। 

राज्यका विभिन्न निकाय खाली : बालेनलाई आफ्ना मान्छे भर्ना गर्ने बाटो खुला

काठमाडौ‌ं। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश, २०८३ जारी गरेसँगै नेपालको संवैधानिक नियुक्ति प्रणाली फेरि एकपटक गहिरो राजनीतिक बहसको केन्द्रमा पुगेको छ। 

बिगत लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायहरूमा नियुक्ति प्रक्रिया सहज बनाउन ल्याइएको अध्यादेश भनिए पनि यसले शक्ति सन्तुलन र संस्थागत नियन्त्रणमाथि गम्भीर प्रश्न उठाएको छ।

प्रधानमन्त्री शाह नेतृत्वको सरकारलाई संवैधानिक परिषद् बैठकमा आवश्यक गणपूरक संख्या कम भए पनि निर्णय गर्न सक्ने अधिकार दिइएको छ। यसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महालेखा परीक्षक, मानवअधिकार आयोगलगायत १४ संवैधानिक निकायमा लामो समयदेखि रोकिएको नियुक्ति प्रक्रिया अघि बढाउने बाटो खुला गरेको छ।

तर यही व्यवस्थालाई लिएर संविधानविद्हरू विभाजित देखिएका छन्। भीमार्जुन आचार्यका अनुसार, बैठकको वैधताका लागि ४ सदस्य आवश्यक भए पनि निर्णयका लागि सोभन्दा कम सदस्यले निर्णय गर्न सक्ने व्यवस्था असन्तुलित र असामान्य हो ।  

उनका अनुसार यस्तो संरचनाले निर्णय शक्ति सीमित समूहमा केन्द्रित हुने जोखिम बढाउँछ।

त्यस्तै संविधानविद् विपिन अधिकारीले पनि यो अभ्यासलाई लोकतान्त्रिक नियन्त्रण र सन्तुलन कमजोर पार्ने दिशामा रहेको टिप्पणी गरेका छन्। 

उनका अनुसार संवैधानिक निकायहरू राजनीतिक प्रभावबाट टाढा रहनुपर्नेमा उल्टै निर्णय प्रक्रियालाई राजनीतिक नेतृत्वमै निर्भर बनाउने संकेत देखिन्छ।

राष्ट्रपति कार्यालयका कानुनी सल्लाहकार बाबुराम कुँवरका अनुसार सरकारलाई पुनर्विचार गर्न सुझाव दिइए पनि अन्ततः संवैधानिक प्रक्रियाअनुसार अध्यादेश जारी गरिएको हो। 

उनका भनाइमा, लामो समयदेखि रोकिएको नियुक्ति प्रक्रिया अघि बढाउनु राज्य सञ्चालनका दृष्टिले पनि आवश्यक थियो।

अध्यादेशपछि अब राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा समेत संवैधानिक परिषद् बैठक सञ्चालन गर्न सकिने सम्भावना बढेको छ। 

यसले निर्णय प्रक्रिया छिटो हुने अपेक्षा गरिएको भए पनि विपक्षी दल र कानुनी विज्ञहरूले यसलाई संस्थागत सन्तुलन कमजोर बनाउने कदमका रूपमा व्याख्या गरेका छन्।

लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायहरूमा नियुक्ति नहुँदा प्रशासनिक कार्यसम्पादन र निगरानी प्रणाली कमजोर भएको तर्क सरकार पक्षले गर्दै आएको छ। 

तर नियुक्ति प्रक्रिया सहज बनाउने नाममा शक्ति केन्द्रिकरण बढ्ने हो कि भन्ने प्रश्नले राजनीतिक बहस झनै तातिएको छ।

अन्तत: अध्यादेशले एकातर्फ संस्थागत रिक्तता भर्ने अवसर दिएको छ। भने अर्कोतर्फ संवैधानिक संरचनाको मूल सिद्धान्तमै पुनः बहस सुरु गरिदिएको छ। 

जसको प्रभाव आगामी दिनमा नेपालको राजनीतिक स्थिरता र शासन प्रणालीमा समेत देखिन सक्ने विश्लेषकहरूको धारणा छ।

‘छ माया छपक्कै २’ को छायाङ्कन सुरु

काठमाडौं। नेपाली फिल्म छ माया छपक्कै २ को छायाङ्कन सुरु भएको छ। निर्माण युनिटका अनुसार फिल्मको छायाङ्कन बुधवार गागलफेदीबाट सुरु गरिएको हो।

सन् २०१९ मा प्रदर्शन भएको सफल फिल्म छ माया छपक्कै को सिक्वेलका रूपमा निर्माण हुन लागेको यस फिल्मको निर्देशन दीपेन्द्र लामा ले गर्नेछन्।

सामाजिक-राजनीतिक कथावस्तुमा आधारित फिल्मको छायाङ्कन करिब ५० दिनको सेडुलमा सम्पन्न गरिने जनाइएको छ। फिल्ममा केकी अधिकारी, दीपकराज गिरी र सनिशा भट्टराई को मुख्य भूमिका रहनेछ।

फिल्मका निर्माता रोहित अधिकारी हुन्। रोहित अधिकारी फिल्मस र आमा सरस्वती मूभिजको ब्यानरमा निर्माण भइरहेको फिल्मको प्रस्तुतकर्ता आइएमई ग्रुप रहेको छ।

निर्माण पक्षका अनुसार फिल्मलाई आउँदो दसैँको अवसर पारेर प्रदर्शनमा ल्याइने तयारी गरिएको छ।

२०० जनाको सफल मिर्गौला प्रत्यारोपण

ललितपुर । किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गत सञ्चालनमा रहेको किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले २०० वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। निजी क्षेत्रका अस्पतालहरूमध्ये यो उपलब्धि महत्वपूर्ण मानिएको छ।

अस्पतालका अनुसार सेन्टरले अन्तर्राष्ट्रिय स्तरसँग तुलना गर्न मिल्ने सफलता दर कायम गर्दै नेपालकै अग्रणी मिर्गौला प्रत्यारोपण केन्द्रका रूपमा पहिचान बनाएको छ। स्थापना कालदेखि नै आधुनिक प्रविधि र गुणस्तरीय उपचारमा जोड दिँदै आएको सेन्टरले अनुभवी चिकित्सक तथा प्राविधिक टोलीको सहयोगमा उल्लेखनीय नतिजा हासिल गरेको जनाएको छ।

सेन्टरमा जीवित दाताबाट मिर्गौला प्रत्यारोपण गरिँदै आएको छ। दाताको स्वास्थ्य सुनिश्चित गर्न विस्तृत परीक्षण गरिनुका साथै शल्यक्रियापछि नियमित निगरानीसमेत गरिन्छ।

त्यसैगरी ‘पेयर्ड एक्सचेन्ज’ प्रणालीमार्फत दाता नमिलेका बिरामीहरूलाई पनि प्रत्यारोपणको अवसर दिइँदै आएको छ। यस विधिमा दुई बिरामी–दाता समूहबीच आपसी मिलान गरी मिर्गौला साटासाट गरेर प्रत्यारोपण गरिन्छ।

ल्यापारोस्कोपिक प्रविधिबाट गरिने शल्यक्रियाले दातालाई कम पीडा, कम रक्तस्राव र छिटो निको हुने सुविधा दिएको अस्पतालले जनाएको छ।

सेन्टरले गुणस्तरीय, सुरक्षित र पहुँचयोग्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै आगामी दिनमा अझ धेरै बिरामीलाई सेवा दिने लक्ष्य लिएको उल्लेख गरेको छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक (तस्वीरहरु)

काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बुधवार बसेको छ ।

बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयमाबसेको हो।

बैठकमा समितिको कार्यक्षेत्र, आगामी कार्यदिशा तथा समसामयिक विषयमा छलफल भयो ।

 

काठमाडाैंबाट कन्दङवा फेरि पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर (चेक अनादर) मुद्दामा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार तेह्रथुमको फिदिम नगरपालिका-४ घर भएकी ५८ वर्षीया सलिजा कन्दङवालाई काठमाडौँ महानगरपालिका-३१ भीमसेनगोला क्षेत्रबाट पक्राउ गरिएको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार दीपक विश्वकर्माको जाहेरीका आधारमा कन्दङवालाई नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध चेक अनादरसम्बन्धी मुद्दामा करिब ४० लाख रुपैयाँ बिगो रहेको बताइएको छ।

पक्राउ परेकी कन्दङवालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पाँचथर पठाइएको प्रहरीले जनाएको छ।

दयाहाङ र सौगात ‘मितज्यू’बाट मार्फत एउटै पर्दामा आउने

काठमाडौं। नेपाली फिल्मका दुई स्थापित तथा लोकप्रिय अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ल पुनः एकपटक एउटै पर्दामा देखिने भएका छन्। आगामी जेठ ८ गते प्रदर्शनमा आउने फिल्म मितज्यू मार्फत यी दुई कलाकारको चर्चित सहकार्य फेरि दर्शकमाझ आउन लागेको हो।

नेपाली फिल्म क्षेत्रमा दयाहाङ र सौगात सशक्त अभिनय र फरक-फरक पात्रका लागि परिचित छन्। उनीहरूको अभिनय शैली र पात्र निर्माण क्षमताका कारण दुवै कलाकार निर्माता–निर्देशकको पहिलो रोजाइमा पर्ने गरेका छन्।

यसअघि लुट र कबड्डी जस्ता सफल फिल्ममा सँगै काम गरेका यी दुई कलाकारको केमेस्ट्री दर्शकमाझ निकै लोकप्रिय बनेको थियो। विशेषगरी उनीहरूबीच देखिने तनाव, नोकझोक र प्रतिस्पर्धात्मक सम्बन्धले कथालाई थप आकर्षक बनाउने गरेको अनुभव छ।

आगामी फिल्म ‘मितज्यू’ ले पनि यही अपेक्षालाई निरन्तरता दिने संकेत गरेको छ। सार्वजनिक पोस्टर र टीजरमा दुवै कलाकार आमनेसामने देखिन्छन्, जहाँ उनीहरूको सम्बन्धमा नजिकपनसँगै मनोवैज्ञानिक द्वन्द्वको झल्को पनि स्पष्ट देखिन्छ।

निर्माण पक्षका अनुसार फिल्मको मुख्य आकर्षण नै दयाहाङ र सौगातबीचको मनोवैज्ञानिक टकराव हो। निर्माता जनक घर्ती मगरले पात्रको बनोट र द्वन्द्वले दर्शकलाई फरक अनुभव दिने विश्वास व्यक्त गरेका छन्।

अनिल बुढा मगर को निर्देशनमा बनेको यस फिल्ममा तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछानेलगायत कलाकारको अभिनय रहेको छ। तेरिया फौजा मगरको यो डेब्यू फिल्म पनि हो।

प्राविधिक पक्षतर्फ लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन र श्रीकृष्ण बम मल्लको संगीत रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटल ले खरिद गरिसकेको छ।

दयाहाङ र सौगातको पुरानो सफल सहकार्यलाई आधार मान्दा ‘मितज्यू’ ले पनि दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ।

पश्चिम बंगालमा चुनावपछि चार जनाको हत्या : ममताको कार्यालयमा चल्यो डोजर

 

कोलकाता । भारतको पश्चिम बंगालमा निर्वाचन परिणामपछि हिंसात्मक घटना सुरु भएको छ। उत्तर २४ परगना जिल्लाको सन्देशखालीस्थित बामनघेरी क्षेत्रमा मंगलबार राति गस्तीमा रहेको प्रहरी र केन्द्रीय सुरक्षाबलमाथि आक्रमण भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार अज्ञात समूहले गोली प्रहार गर्दा पाँच जना सुरक्षाकर्मी घाइते भएका छन्। घाइते हुनेहरूमा नाजाट प्रहरी चौकीका प्रमुख, एक प्रहरी जवान, एक महिला प्रहरी र केन्द्रीय बलका दुई जवान रहेका छन्।

पछिल्लो २४ घण्टामा राज्यका विभिन्न स्थानमा चार जनाको हत्या भएको रिपोर्ट आएको छ। मृतकमध्ये भारतीय जनता पार्टी र तृणमूल कांग्रेसका दुई-दुई कार्यकर्ता रहेको जनाइएको छ।

भारतीय जनता पार्टीले उत्तर २४ परगना क्षेत्रका न्यू टाउन र हावडाको उदय नारायणपुरमा आफ्ना दुई कार्यकर्ताको हत्या तृणमूल कांग्रेसका कार्यकर्ताबाट भएको आरोप लगाएको छ। यता, तृणमूल कांग्रेसले कोलकाताको बेलेघाटा र वीरभूमको नानुरमा आफ्ना दुई कार्यकर्ताको हत्या भएको दाबी गरेको छ।

यसैबीच, कोलकाताको न्यू मार्केट क्षेत्रमा भीडले तृणमूल कांग्रेसको पार्टी कार्यालय डोजर प्रयोग गरी भत्काएको छ। साथै आसपासका पसलहरूमा समेत तोडफोड भएको छ।

तृणमूल कांग्रेसले सामाजिक सञ्जालमार्फत चुनावपछि ‘परिवर्तन’को नाममा हिंसा फैलिएको आरोप लगाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ।

ट्रम्पले किन उतारे युरोपमा ८४ सैनिक ?

एजेन्सी। संयुक्त राज्य अमेरिका युरोपमा आफ्नो सैन्य उपस्थिति अझै विस्तार गर्दै गएको छ। अनुसन्धानकर्ताहरूका अनुसार अमेरिका दर्जनौं सैन्य अड्डामार्फत युरोपमा सक्रिय छ, जहाँ करिब ८० हजारभन्दा बढी सैनिक तैनाथ छन्।

दोस्रो विश्वयुद्धपछि युरोपको सुरक्षा संरचनामा अमेरिकाको उपस्थिति प्रमुख आधारका रूपमा रहँदै आएको छ। हाल यो उपस्थिति मुख्यतः जर्मनी, इटाली, बेलायत र पोल्याण्डमा केन्द्रित छ।

काउन्सिल अन फरेन रिलेसन्सका अनुसार सन् २०२५ को सुरुवातसम्म युरोपमा अमेरिकी सैनिकहरूको संख्या करिब ८४ हजार रहेको छ। युक्रेन युद्धपछि पूर्वी युरोपमा थप तैनाती हुँदा यो संख्या केही समय ७५ हजारदेखि १ लाख ५ हजारसम्म पुगेको पनि उल्लेख गरिएको छ।

सबैभन्दा ठूलो अमेरिकी सैन्य उपस्थिति जर्मनीमा छ। यहाँ रामस्टाइन एयर बेस रहेको छ, जुन अमेरिका बाहिरको सबैभन्दा ठूलो हवाई अड्डा मानिन्छ। युरोप र अफ्रिकाका लागि अमेरिकी सेनाको मुख्यालय स्टुटगार्टमा तथा युरोप कमान्डको केन्द्र विसबाडेनमा अवस्थित छ। जर्मनीमा मात्र करिब ३८ हजार अमेरिकी सैनिक तैनाथ छन्।

इटालीमा पनि अमेरिकी सेनाको उल्लेखनीय उपस्थिति छ। यहाँ पाँचवटा अड्डा सञ्चालनमा छन्, जसमा एवियानो एयर बेस प्रमुख हो। करिब ८ हजारभन्दा बढी अमेरिकी सैनिक यहाँ तैनाथ छन्। सिगोनेला नौसैनिक अड्डा र नेपल्सस्थित कमान्ड केन्द्र भूमध्यसागरीय रणनीतिका दृष्टिले महत्वपूर्ण मानिन्छ।

बेलायतमा पनि आरएएफ लेकनहीथ, मिल्डेनहोल र फेयरफोर्ड जस्ता महत्वपूर्ण अड्डाहरू छन्, जहाँ एफ-३५ लडाकु विमानदेखि बमवर्षक विमानसम्म तैनाथ गरिएका छन्। पोल्याण्डमा रेडजिकोभो, लास्क एयर बेस र अन्य अग्रिम अड्डाहरूले नेटोको पूर्वी सुरक्षा रणनीतिमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

टर्कीको इन्सिरलिक एयर बेस पनि अमेरिका र नेटोका लागि मध्यपूर्व तथा भूमध्यसागर क्षेत्रमा रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ।

अमेरिकी सेनाको भूमिकामा सीमा सुरक्षा, सैन्य सामग्री आपूर्ति, प्रशिक्षण र संयुक्त सैन्य अभ्यास समावेश छन्। जर्मनीको बुसेल एयर बेसमा अमेरिकी सैनिकहरूले आणविक बमहरूको सुरक्षा जिम्मा पनि सम्हाल्दै आएका छन्।

युक्रेन युद्धपछि अमेरिका युक्रेनी सेनालाई हतियार, गोला-बारुद र सैन्य प्रशिक्षण उपलब्ध गराउन अझ सक्रिय बनेको छ। यसले युरोपमा अमेरिकी सैन्य संरचना केवल सुरक्षा होइन, रणनीतिक र भू-राजनीतिक प्रभाव विस्तारको आधार बनेको विश्लेषण गरिएको छ।

नेप्से ओरालो लाग्यो

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक १.६४ अंकले घटेर २७११.२२ बिन्दुमा कायम भएको हो।

आज कुल ३३६ कम्पनीका ७१ लाख ३१ हजार ५५७ कित्ता सेयर ४७ हजार ८४१ पटक खरिदबिक्री हुँदा ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

उपसमूहगत प्रदर्शनमा बैंकिङ ०.१६, वित्त ०.१९, होटल तथा पर्यटन ०.२२, लगानी ०.४०, लघुवित्त ०.४८, म्युचुअल फन्ड ०.८०, निर्जीवन बिमा ०.१९ र अन्य समूह ०.०३ प्रतिशतले बढेका छन्।

तर विकास बैंक ०.५१, जलविद्युत् ०.४३, जीवन बिमा ०.३२ र उत्पादन तथा प्रशोधन समूह ०.५६ प्रतिशतले घटेका छन्। समग्र बजारमा अधिकांश सूचकमा दबाब देखिएको छ।

आजको कारोबारमा फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १३.७४ प्रतिशतले बढेको छ भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.९० प्रतिशतले घटेको छ।

चिप उद्योगमा मजबुत हुन खोज्दै भारत

एजेन्सी। विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति शृङ्खलामा आफ्नो स्थान मजबुत बनाउने लक्ष्यसहित भारतले ४१ करोड ४० लाख अमेरिकी डलर बराबरका दुई नयाँ सेमिकन्डक्टर परियोजनालाई स्वीकृति दिएको छ। यस निर्णयले भारतलाई इलेक्ट्रोनिक्स उत्पादन र चिप निर्माणको उदीयमान केन्द्रका रूपमा स्थापित गर्ने सरकारी रणनीतिलाई थप गति दिने अपेक्षा गरिएको छ।

सरकारले सोमबार राति स्वीकृत गरेका यी परियोजनामध्ये एक एलईडी डिस्प्ले उत्पादन सुविधा हो भने अर्को सेमिकन्डक्टर प्याकेजिङ युनिट हो। यी दुई परियोजना थपिएसँगै भारतमा सेमिकन्डक्टरसम्बन्धी परियोजनाको संख्या १२ पुगेको छ। यस क्षेत्रमा हालसम्म करिब १७ अर्ब २० करोड डलर बराबरको लगानी प्रतिबद्धता रहेको बताइएको छ।

भारतले सन् २०२१ देखि घरेलु चिप उत्पादन क्षमता विस्तार गर्ने रणनीति अघि बढाउँदै आएको छ। आयातमा निर्भरता घटाउने, आपूर्ति प्रणाली सुरक्षित बनाउने र प्रविधिमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले निर्माण, डिजाइन र प्याकेजिङ पूर्वाधारमा निरन्तर लगानी बढाइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यी परियोजनालाई भारतलाई विश्वव्यापी सेमिकन्डक्टर मूल्य शृङ्खलामा अग्रणी बनाउने दीर्घकालीन योजनाको महत्वपूर्ण हिस्सा भएको बताएका छन्। उनका अनुसार यस क्षेत्रको विकासले आर्थिक रूपान्तरणलाई तीव्र बनाउने, प्रविधिमा आत्मनिर्भरता सुदृढ गर्ने र नवप्रवर्तनमा आधारित प्रणालीलाई मजबुत बनाउनेछ।

सरकारी विवरणअनुसार एलईडी परियोजना मिनी र माइक्रो डिस्प्ले मोड्युल उत्पादनमा केन्द्रित रहनेछ। यसअन्तर्गत कम्पाउन्ड सेमिकन्डक्टर निर्माणसम्बन्धी एकीकृत सुविधा स्थापना गरिनेछ। त्यस्तै, प्याकेजिङ युनिटले अटोमोबाइल, औद्योगिक र उपभोक्ता इलेक्ट्रोनिक्सका लागि आवश्यक चिप समाधान उपलब्ध गराउने लक्ष्य राखेको छ।

यी पहलले भारतको उच्चस्तरीय चिप डिजाइन क्षमतालाई पूरक सहयोग पुर्‍याउने र समग्र सेमिकन्डक्टर पारिस्थितिकी प्रणालीलाई सुदृढ बनाउने सरकारको विश्वास छ।

भारतको चिप बजार पनि तीव्र गतिमा विस्तार भइरहेको छ। सन् २०२३ मा करिब ३८ अर्ब डलर रहेको बजार सन् २०२४-२५ सम्म ४५ देखि ५० अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ। सरकारको लक्ष्य भने सन् २०३० सम्म यस क्षेत्रलाई एक खर्ब डलरको स्तरमा पुर्‍याउने रहेको छ।

यसअघि स्वीकृत कतिपय उत्पादन केन्द्रहरूले सञ्चालन सुरु गरिसकेका छन् भने केही परियोजनाले व्यावसायिक उत्पादन र ढुवानीसमेत सुरु गरिसकेको बताइएको छ, जसले भारतको सेमिकन्डक्टर उद्योग विस्तारको गति झन् स्पष्ट बनाएको छ।

बालेनको स्वास्थ्य सल्लाहकारमा नियुक्त डा. अग्रवाल नियुक्त

काठमाडौं। सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त जिम्मेवारीमा नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्वडीनसमेत रहेका अग्रवालले अब प्रधानमन्त्रीलाई स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्यका चुनौती र चिकित्सा शिक्षासम्बन्धी सुधारका विषयमा परामर्श दिनेछन्।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार अनुभवी चिकित्सक अग्रवालको नियुक्तिले सरकारलाई स्वास्थ्य नीति निर्माण र सेवा सुधारमा महत्वपूर्ण प्राविधिक सहयोग मिल्ने अपेक्षा गरिएको छ। उनले अग्रवालले कुनै पारिश्रमिक नलिई अवैतनिक रूपमा सेवा दिने पनि स्पष्ट गरिन्।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै आएको सन्दर्भमा यो नियुक्तिलाई रणनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

डा. अग्रवालले राज्यबाट कुनै आर्थिक सुविधा नलिई विशेषज्ञ सल्लाहकारका रूपमा आफ्नो ज्ञान र अनुभव प्रदान गर्नेछन्।

‘जहाँ छचल्किए भावना’ नियात्रासंग्रह लोकार्पण

काठमाडौं। नियात्राकार निर्मलकुमार आचार्य को नियात्रासंग्रह ‘जहाँ छचल्किए भावना’ एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ।

पर्वतीय साहित्य समाज नेपालका अध्यक्ष तथा वरिष्ठ नियात्राकार प्रतीक ढकाल, श्रीओम श्रेष्ठ ‘रोदन’ र प्रा.डा. भरतकुमार भट्टराई लगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन्।

कार्यक्रममा अध्यक्ष ढकालले यात्रा गर्नु विश्वविद्यालय शिक्षाभन्दा पनि बढी ज्ञानवर्द्धक हुने उल्लेख गर्दै आचार्यको कृति पनि त्यही स्तरको ज्ञान दिने खालको रहेको बताए।

त्यसैगरी नियात्राकार ‘रोदन’ले ‘जहाँ छचल्किए भावना’ लाई सफल नियात्रा कृति भन्दै यसले पाठकलाई लेखकसँगै यात्रा गराउने क्षमता राख्ने बताए। प्रा.डा. भट्टराईले कृतिको समीक्षा गर्दै यसलाई सुन्दर र सुललित शैलीमा लेखिएको कृति भएको टिप्पणी गरे।

लेखक निर्मलकुमार आचार्यले आफ्ना शुभेच्छुकहरूको निरन्तर प्रोत्साहनका कारण कृति प्रकाशन गर्न सफल भएको बताउँदै पाठकलाई आफ्ना कमजोरी औँल्याइदिन आग्रह गरे।

लोकार्पित कृति रमिला आचार्य अर्यालले प्रकाशन गरेकी हुन्। यस कृतिमा २८ वटा नियात्रा समेटिएका छन्, जसमा ४ धाम, १२ ज्योतिर्लिङ्ग, कैलास, मानसरोवरसहित नेपाल, भारत र चीनका यात्राका अनुभव, देखाइ, भोगाइ र अध्ययन समेटिएको छ।

आचार्य गोरखापत्र राष्ट्रिय दैनिकका पूर्वप्रधान सम्पादक हुन्। उनले साहित्य क्षेत्रमा निबन्ध, गीत, सहलेखन र सम्पादनमार्फत पनि योगदान दिँदै आएका छन्।

‘एमआरपी’को भुइँचालो : भन्सारमा ४ सय बढी ट्रक अलपत्र

विराटनगर। विराटनगरस्थित रानीमा रहेको एकीकृत भन्सार जाँच चौकीमा ४ सयभन्दा बढी मालवाहक ट्रक अलपत्र परेका छन्।

तयारी वस्तु आयातमा भन्सार विन्दुमै अधिकतम बिक्री मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने नयाँ नियम लागू भएपछि मालवस्तु लिएर आएका ट्रकहरू रोकिएका हुन्।

सरकारले तयारी वस्तुमा अनिवार्य रूपमा अधिकतम बिक्री मूल्य तोक्ने व्यवस्था लागू गरेपछि पछिल्लो आठ दिनदेखि सीमामा ट्रकहरू जाँचपास हुन नसकेका हुन्।

यस कारण अर्बौँ रुपैयाँ बराबरका उपभोग्य तथा औद्योगिक सामग्रीहरू अलपत्र परेका छन्।

भन्सार विभागले वैशाख १६ गते निर्देशन जारी गर्दै औद्योगिक कच्चा पदार्थ, मेसिनरी उपकरण र छिटो नष्ट हुने वस्तुका लागि ‘स्वघोषणा’ गर्न सकिने लचिलो व्यवस्था प्रस्ताव गरेको थियो। तर उक्त प्रस्तावलाई प्रधानमन्त्री तहबाट अस्वीकार गरिएपछि वैशाख १५ गतेदेखि सुरु भएको समस्या अझ जटिल बनेको बताइएको छ।

आयातित ट्रकहरूमा सौन्दर्य सामग्री, तयारी पोसाक, खाद्यान्न, बिउबिजन, टायर तथा अन्य दैनिक उपभोग्य वस्तुहरू रहेका छन्।

लामो समयसम्म सामान खुला स्थानमा रोकिँदा गुणस्तरमा असर पर्ने र बजारमा अभाव सिर्जना भई मूल्यवृद्धि हुन सक्ने व्यवसायीहरूले बताएका छन्।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार माथिल्लो निकायबाट स्पष्ट निर्देशन नआएसम्म एमआरपी नभएका वस्तुहरूको जाँचपास गर्न नसकिने अवस्था रहेको छ।

६ पाटेबाघ मरे

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पाटेबाघको मृत्युका घटनाहरू बढेका छन्। पछिल्लो पटक सोमबार सिजीघाट नजिक करिब दुई वर्षको एक भाले बाघ मृत अवस्थामा फेला परेपछि यस वर्ष मरेका बाघको संख्या ६ पुगेको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृत भेटिएका बाघमध्ये दुई वटा भाले र तीन वटा पोथी रहेका छन्। भने एउटा बाघको लिङ्ग पहिचान हुन सकेको छैन।

उनका अनुसार केही बाघ आपसमा जुधेर मरेका छन् भने केही उद्धार प्रक्रियाकै क्रममा ज्यान गुमाएका छन्। एउटा बाघ भने प्राकृतिक कारणले मरेको अनुमान गरिएको छ।

अघिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज मा १२८ वटा पाटेबाघ रहेका थिए। यस वर्ष गरिएको नयाँ गणनाको नतिजा भने हालसम्म सार्वजनिक गरिएको छैन।

संवैधानिक परिषद् अध्यादेशमा सरकारको नियतमाथि गगनको प्रश्न, कांग्रेसको कडा आपत्ति

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारप्रति कडा टिप्पणी गर्दै कांग्रेसले प्रश्न गर्ने, खबरदारी गर्ने र आवश्यक विकल्प समेत प्रस्तुत गर्ने भूमिका निरन्तर निर्वाह गरिरहेको बताएका छन्।

कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए। उनले ‘बालेन सरकार भ्रममा छ’ भन्दै वर्तमान सरकारलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालसँग तुलना गरे।

थापाले संविधानअनुसार अध्यादेश ल्याउने व्यवस्था भए पनि त्यसको नियत के हो भन्ने कुरा महत्वपूर्ण हुने बताए। उनले अहिले ल्याइएका केही अध्यादेशप्रति गम्भीर प्रश्न उठेको उल्लेख गर्दै संसदमा आउने प्रतिस्थापन विधेयकमार्फत आवश्यक संशोधन गर्नुपर्ने धारणा राखे।

विशेषगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति रहेको उनले स्पष्ट पारे। उनले संवैधानिक परिषद्लाई ‘वाचडग’ को रूपमा परिकल्पना गरिएको भन्दै सरकार प्रमुखको मनोमानी रोक्न यसको व्यवस्था गरिएको बताए।

तर विभिन्न प्रधानमन्त्रीहरूले संविधानमै छेडखानी गर्दै आएको आरोप लगाउँदै उनले हालका प्रधानमन्त्रीले समेत संवैधानिक परिषद्मा बहुमत सुनिश्चित हुने गरी संशोधन गरेर ‘जालझेल’ गरेको टिप्पणी गरे। उनका अनुसार प्रधानमन्त्री, सभामुख र कानुनमन्त्री मिलेर बहुमत कायम हुने गरी गरिएको संशोधन गलत अभ्यास हो।

थापाले संविधानमाथि यस्तो प्रकारको हस्तक्षेप स्वीकार्य नहुने भन्दै सरकारलाई जिम्मेवार बन्न आग्रह समेत गरे।

राष्ट्रपतिले अध्यादेश जारी गरेपछि प्रधानमन्त्री बालेनलाई सजिलो, संवैधानिक परिषद्को बैठक बस्दै(भिडियो)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री बालेन्द्र शाहले परिषद्को बैठक आह्वान गरेका छन्।

अध्यादेशले महत्वपूर्ण संवैधानिक पदहरु पुर्ती गर्न शाहको निर्णयलाई निर्णयाक हुने गरी व्यवस्था गरेको छ। अर्थात् राष्ट्रपतिले जारी गरेको अध्यादेशले संवैधानिक परिषद्को बैठकमा निर्णयका लागि प्रधानमन्त्री जतातिर उभियो त्यसलाई नै अन्तिम निर्णय बनाउनेछ।  यसअघि ६ सदस्यीय परिषद् मा  चार जनाको बहुमतबाट निर्णय गर्ने व्यवस्था थियो। 

बैठक सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आह्वान गरिएको हो । सर्वोच्च अदालतकी वरिष्ठ न्यायधिश सपना प्रधान मल्लको प्रधानन्यायधिश बन्ने चर्चा हुँदै आएको छ।   

संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो। सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको प्रधानमन्त्री कार्यलयकी प्रमुख प्रेस सल्लाहकार दीपा दाहालले जानकारी गराएकी छन् । सर्वोच्च अदालतको नेतृत्वसम्बन्धी महत्वपूर्ण निर्णयका लागि बोलाइएको यो बैठकलाई संवैधानिक तथा न्यायिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा, के भने बालेनलाई ?

काठमाडौं। वीर अस्पतालका निर्देशक डा. दिलीप शर्मा ले पदबाट राजीनामा दिएका छन्। अघिल्लो सरकारले गरेका नियुक्तिहरू खारेज गर्नेगरी वर्तमान सरकारले अध्यादेश ल्याएपछि उनले पद छाडेका हुन्।

डा. शर्माले हिजो नै स्वास्थ्य मन्त्रालयमा पुगेर राजीनामा बुझाएको जानकारी दिएका छन्। उनका अनुसार अन्य पदाधिकारीहरूले पनि पद छाडेकाले आफूले पनि राजीनामा दिएको हो।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लक्षित गर्दै उनले भने, ‘मेरो कार्यकाल पनि धेरै बाँकी थिएन, नयाँ सरकारलाई सहज होस् भनेर राजीनामा दिएँ।’

स्वास्थ्य सेवाअन्तर्गत दशौं तहका कर्मचारी रहेका शर्मा २०८१ फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए।

उनको राजीनामापछि वीर अस्पताल हाल पदाधिकारीविहीन भएको छ। अध्यादेश जारी भएसँगै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्षलगायतका पदाधिकारीहरू पनि पदमुक्त भएका थिए।

यस घटनाले देशको प्रमुख स्वास्थ्य संस्थाहरूको प्रशासनिक संरचना तत्कालका लागि अनिश्चित बनेको देखिएको छ।

देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन गरेन रेड नोटिस जारी ?

काठमाडौं। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवामाथि इन्टरपोलबाट रेड नोटिस जारी गर्ने प्रक्रिया अझै टुंगिन सकेको छैन। प्रक्रिया सुरु भएको करिब एक महिना बितिसक्दा पनि औपचारिक रेड नोटिस जारी नभएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका एक अधिकारीका अनुसार देउवा दम्पतीको रेड नोटिस हाल प्रक्रियामै रहेको छ र कुनै अन्तिम निर्णय भएको छैन। उनका अनुसार ‘रेड नोटिस जारी गर्ने विषय अझै विचाराधीन अवस्थामा छ।’

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा दुवैजनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। सोही आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएको थियो।

तर उनीहरू विदेशमा रहेको भनिएपछि नेपाल प्रहरीले इन्टरपोलको एनसीबी काठमाडौँमार्फत अन्तर्राष्ट्रिय अपराध संगठनलाई पत्राचार गरेको थियो। सोही क्रममा इन्टरपोलको केन्द्रीय कार्यालयले थप कागजात माग गरेको बताइएको छ।

देउवा दम्पती सिंगापुर हुँदै हङकङ पुगेको चर्चा भए पनि हाल उनीहरू कहाँ छन् भन्ने स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

यस प्रकरणले अन्तर्राष्ट्रिय स्तरमा कानुनी प्रक्रिया र राजनीतिक संवेदनशीलता दुवैलाई पुनः चर्चामा ल्याएको छ।

गगन,विश्व-पूर्णबहादुरबीच साढे १ घण्टा छलफल,के भयो कुरो ?

काठमाडौं। गगनकुमार थापाले नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन्। थापा उपसभापति विश्वप्रकाश शर्मासहित खड्काको गल्फुटारस्थित निवास पुगेका थिए।

सचिवालयका अनुसार बिहान भएको भेटवार्ता करिब ११ बजेबाट साढे १ घण्टासम्म चलेको थियो। भेटका क्रममा समसामयिक राजनीतिक अवस्था र पार्टीभित्रको रणनीतिक विषयमा छलफल भएको अनुमान गरिएको छ।

यद्यपि दुवै पक्षले औपचारिक विवरण सार्वजनिक गरेका छैनन्।

यसअघि मंगलबार बेलुकी तय गरिएको नेतात्रयबीचको भेट अन्तिम समयमा स्थगित भएको थियो। त्यसअघि बिहान थापाले वरिष्ठ नेता डा. शेखर कोइरालासँग पनि छुट्टै भेट गरेका थिए।

थापाले यसअघि पनि ६ वैशाखमा खड्कासँग भेट गरेका थिए। लगातार भइरहेका यी भेटघाटलाई नेपाली कांग्रेसभित्र आगामी राजनीतिक समीकरण र नेतृत्व व्यवस्थापनसँग जोडेर हेरिएको छ।

यद्यपि भेटको ठोस एजेन्डाबारे भने अहिलेसम्म औपचारिक रूपमा केही खुलाइएको छैन।

एमाले अध्यक्ष ओलीले गरे सुदूरपश्चिमका एमाले सांसदसँग छलफल (तस्वीरहरु)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरूसँग छलफल गरेका छन्। बुधबार ओलीको भक्तपुरस्थित निजी निवास गुन्डुमा उक्त छलफल भएको हो।

पार्टीभित्र सुदूरपश्चिम प्रदेशमा देखिएको पछिल्लो विवादका विषयमा केन्द्रित रहेर छलफल गरिएको स्रोतले जनाएको छ। विशेषगरी एमाले सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता राजेन्द्र सिंह रावलको कार्यशैलीलाई लिएर पार्टीभित्रै असन्तुष्टि र प्रश्नहरू उठ्दै आएको विषयमा पनि छलफल भएको बताइएको छ।

निकटस्थ स्रोतका अनुसार बैठकमा प्रदेश संगठनको आन्तरिक समन्वय, नेतृत्वको भूमिकासँगै आगामी राजनीतिक रणनीतिबारे पनि विचार विमर्श गरिएको थियो।

सुदूरपश्चिममा देखिएको विवादलाई समाधान गर्दै पार्टी एकता मजबुत बनाउने विषयमा नेताहरूबीच छलफल केन्द्रित रहेको जनाइएको छ।

‘१२ गाउँ २’ को छायांकन सुरू, को-को छन् कलाकार ?

काठमाडौं। सुपरहिट एक्सन फिल्म १२ गाउँ को सिक्वेल १२ गाउँ २ को छायांकन औपचारिक रूपमा सुरू गरिएको छ। निर्देशक विराज भट्टको निर्देशनमा बन्न लागेको फिल्मको बुधबार काठमाडौँमा शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो।

फिल्ममा निर्देशक भट्टसँगै समीर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारहरूको अभिनय रहनेछ।

निर्माण पक्षका अनुसार सुरुवातमा फिल्मको गीत खिचिनेछ। फिल्मको छायांकन काठमाडौँसँगै सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा गरिनेछ।

फिल्मलाई दसैंको फूलपातीको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको छ। प्राविधिक पक्षमा डीओपीको रूपमा महेश पौडेल रहनेछन् भने कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेका हुन्।

द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनले गर्नेछन्। ब्याकग्राउन्ड म्युजिक कालाचरण र गीता गुरप्पाले तयार पार्नेछन् भने संगीतमा युग भुसाल, देबेन्द्र बराल र डीपी खनाल रहनेछन्।

गीतमा सुगम पोखरेल, समीक्षा अधिकारी, प्रेरणा सिंह, किरण भुजेल र निशान भट्टराईको स्वर रहनेछ। निर्माण व्यवस्थापन भोला सुबेदी (आरजे प्रणव) र रमेश खड्काले सम्हाल्नेछन् भने नृत्य निर्देशन सियोन श्रेष्ठले गर्नेछन्।

फिल्मको वितरण उपत्यकामा काफिया फिल्म्स प्रालि र उपत्यका बाहिर कुबेर फिल्म्सले गर्नेछन्।

चुनावमा निष्पक्ष नभएको भन्दै राजीनामा नदिने ममताको घोषणा(भिडियो)

नयाँ दिल्ली। पश्चिम बंगाल विधानसभा चुनावमा दलको पराजय भए पनि मुख्यमन्त्री ममता बनर्जीले पदबाट राजीनामा नदिने घोषणा गरेकी छन्। तृणमूल कांग्रेस (टीएमसी) की अध्यक्ष बनर्जीले आफू पराजित नभएको दाबी गर्दै पद नछाड्ने बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

१५ वर्षदेखि सत्तामा रहेको टीएमसी यसपटक ठूलो धक्का खेप्दै ८० सिटमा सिमित भएको छ, जबकि भारतीय जनता पार्टी (भाजपा) ले २०७ सिट जितेर सरकार गठनको तयारी थालेको छ। ममता बनर्जी स्वयं पनि भवानीपुर क्षेत्रबाट पराजित भएकी छन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भाजपामाथि चुनावमा व्यापक बेइमानी गरेको आरोप लगाइन्। ‘हारको प्रमाण भए म राजीनामा दिन्थेँ, तर जबर्जस्ती स्वीकार्य हुँदैन,’ उनले भनिन्। साथै उनले निर्वाचन प्रक्रियामा भारतीय निर्वाचन आयोग नै मुख्य दोषी भएको दाबी गर्दै आयोगको भूमिकामाथि प्रश्न उठाइन्।

बनर्जीले अब पार्टीभित्र छलफल गरी आगामी रणनीति तय गरिने बताउँदै भाजपाको ‘अत्याचार’ विरुद्ध सडक संघर्षमा उत्रिने चेतावनी पनि दिइन्।

उता, भाजपाले भने ममताको अभिव्यक्तिलाई असंवैधानिक र हास्यास्पद ठहर गर्दै आलोचना गरेको छ। पार्टीका प्रवक्ता देबजीत सरकारका अनुसार संवैधानिक प्रक्रियालाई मान्ने कुनै पनि व्यक्तिले यस्ता दाबी गर्नै सक्दैनन्।

संविधान के भन्छ?

भारतीय संविधानको अनुच्छेद १६४ अनुसार मुख्यमन्त्री राज्यपालको इच्छासम्म पदमा रहन सक्छन्। तर यो ‘इच्छा’ राज्यसभामा बहुमत प्राप्त नेतामाथि आधारित हुने संवैधानिक प्रावधान हो। नयाँ बहुमत स्पष्ट भएपछि राज्यपाल त्यही आधारमा सरकार गठनका लागि आमन्त्रण गर्छन्।

यदि वर्तमान मुख्यमन्त्रीले राजीनामा नदिए पनि राज्यपालले मन्त्रिपरिषद् बर्खास्त गर्ने अधिकार राख्छन्। यस अर्थमा, बहुमत गुमाएपछि पदमा निरन्तर बसिरहन व्यावहारिक रूपमा सम्भव हुँदैन।

त्यस्तै, अनुच्छेद १७२ अनुसार राज्य विधानसभा पाँच वर्ष मात्र रहने व्यवस्था छ। नयाँ निर्वाचनपछि पुरानो सरकारको कार्यकाल स्वतः समाप्त हुन्छ।

संवैधानिक विज्ञहरूका अनुसार मुख्यमन्त्रीको पद बहुमतको समर्थनमा आधारित भएकाले चुनावपछि बहुमत गुमेमा पदमा टिकिरहन कानुनी आधार रहँदैन। उनीहरूको भनाइमा, ममताको राजीनामा नदिनेको निर्णय कानुनीभन्दा बढी राजनीतिक विषय हो।

हेटौंडामा ३०० भन्दा बढी प्रजातिका चरा (तस्वीरहरू)

हेटौंडा। मानिसहरू प्रायः चराहरू अवलोकन गर्न जंगल वा संरक्षित क्षेत्रमै जानुपर्ने सोच राख्छन्, तर हेटौंडा उपमहानगरपालिकाभित्रै ३०० भन्दा बढी प्रजातिका चराहरू भेटिएको तथ्यले यो धारणा बदलिदिएको छ।

उपमहानगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार हेटौंडा अब सम्भावित ‘अर्बन बर्डिङ’ गन्तव्यका रूपमा विकास हुन सक्ने बलियो आधार देखिएको छ।

भित्री मधेसमा अवस्थित हेटौंडाको भौगोलिक संरचना विविध छ। यहाँ सालका घना जंगल, डाँडाकाँडा, तराईका समथर भूभाग, खोलानाला, सिमसार र खेतीयोग्य जमिन एकै ठाउँमा पाइन्छन्। यही कारणले पहाडी र तराई दुवै क्षेत्रका चराहरू यहाँ सहजै देखिने गरेका छन्।

विशेषगरी जाडो याममा यहाँ चराहरूको चहलपहल उल्लेखनीय रूपमा बढ्ने गर्छ। खोलानाला र सिमसार क्षेत्रमा पानीसँग सम्बन्धित चराहरूको उपस्थिति बढी देखिन्छ भने खेतीयोग्य जमिनमा पनि विभिन्न प्रजातिका चराहरू नियमित रूपमा देखिन्छन्।

हेटौंडाको अर्को महत्वपूर्ण विशेषता भनेको चरा अवलोकनका लागि टाढा जानु नपर्नु हो। मुख्य बजार क्षेत्रबाट करिब २०० देखि ३०० मिटर दूरीमा रहेको फरेस्ट क्याम्पस क्षेत्रको जंगलमै करिब १५० भन्दा बढी प्रजातिका चराहरू अभिलेख गरिएको छ।

यहाँ गरुड, बाज प्रजाति लगायत शिकारी चराहरू पनि देखिन्छन्। त्यस्तै ठेउवा, सुइरोठुँडे र खोया हाँस जस्ता पानी तथा जमिन दुवै क्षेत्रमा बस्ने चराहरू पनि नियमित रूपमा पाइन्छन्।

हेटौंडा केवल स्थायी चराहरूको बासस्थान मात्र होइन, यो महत्वपूर्ण प्रवासी चराहरूको विश्रामस्थल पनि हो। माइग्रेसनका क्रममा विभिन्न प्रजातिका चराहरू यहाँ छोटो समयका लागि बस्ने र पुनः आफ्नो यात्रामा अघि बढ्ने गर्छन्, जसले यस क्षेत्रलाई जैविक रूपमा अझ महत्वपूर्ण बनाएको छ।

विशेषज्ञहरूका अनुसार यो क्षेत्र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमै एउटा महत्वपूर्ण पारिस्थितिकीय मार्गका रूपमा विकसित हुँदै गएको छ।

यसरी सहरी क्षेत्रमै यति समृद्ध चरा विविधता हुनु हेटौंडाको ठूलो सम्भावना हो। उचित संरक्षण, हरियाली व्यवस्थापन र जनचेतना विस्तारमार्फत यसलाई बर्डवाचिङ र प्रकृति पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ।

समग्रमा, हेटौंडा केवल सहरी विकासको केन्द्र मात्र नभई चराहरूको जीवन्त र विविध संसार पनि हो भन्ने पुष्टि हुँदै गएको छ।

कार्की र यादव पक्राउ

काठमाडौं। विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँका ४३ वर्षीय निरबहादुर कार्की र सर्लाहीका ३९ वर्षीय विजयकुमार यादव रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार निरबहादुर कार्कीले क्रोएसिया पठाइदिन्छु भन्दै ८ जनाबाट रकम ठगी गरेको आरोप छ। त्यस्तै विजयकुमार यादवले कतार पठाइदिन्छु भन्दै २ लाख २० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

कांग्रेस भ्रातृसंस्थामा मनोनयनको तयारी : महिलामा मिना, तरुणमा मनिष, नेविसंघमा आदित्यको चर्चा

काठमाडौँ ।  नेपाली कांग्रेसका विभिन्न भ्रातृ संगठनका पदाधिकारी पदमुक्त भएपछि अहिले ती संगठनहरूमा नयाँ नेतृत्वका लागि चहल पहल तीव्र बनेको छ। रिक्त पदहरू परिपुर्तीको लागि पार्टीभित्र मनोनयनको तयारी सुरु भएको छ भने सम्भावित नामहरूबारे व्यापक चर्चा सुरु भएको हो।

नेपाल महिला संघमा नयाँ नेतृत्वका लागि मिना खरेलको नाम सबभन्दा अगाडि रहेको चर्चा छ। संगठनमा उनी प्रभावशाली नेतृका रूपमा स्थापित भएकाले उनको मनोनयनलाई बढी सम्भावना भएको कांग्रेस निकट स्रोतले बताउछ । 

२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा खरेल चितवन क्षेत्र नम्बर-२ बाट उम्मेदवार समेत थिइन्। तर त्यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भए। खरेलको चितवन लगायत देशैभरका कांग्रेसका युवा तथा महिलामाझ राम्रो छवि रहेको बताइन्छ।

त्यस्तै, नेपाल विद्यार्थी संघ (नेविसंघ)मा नयाँ अनुहारको रूपमा आदित्य दास चर्चामा छन्। विद्यार्थी राजनीतिमा सक्रिय दासलाई नेविसंघको केन्द्रीय नेतृत्वमा ल्याउनेबारे आन्तरिकरूपमा छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ।

नेविसंघका निवर्तमान सभापति दुजाङ शेर्पाले पद छाडेको घोषणा गरेसँगै दास नयाँ नेतृत्वको रुपमा चर्चामा आएका हुन्। उनी त्रिभुवन विश्वविधालय अन्तर्गत चाबेल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसबाट विगत लामो समयदेखि विधार्थी राजनीतिमा सक्रीय छन्। 

नेपाल तरुण दलमा मनिष कोईरालाको नाम प्रबल रूपमा अघि सारिएको चर्चा छ । संगठन विस्तार, युवा परिचालन र आन्तरिक व्यवस्थापनमा सक्रिय कोईरालालाई नयाँ नेतृत्वका लागि उपयुक्त मानिँदैछ। यसअघि तरुण दलको अध्यक्ष विद्वान गुरुङ थिए। उनले पनि केही दिनअघि मात्रै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। 

कांग्रेसभित्र रिक्त भएका भ्रातृसंस्थाहरूमा मनोनयन प्रक्रिया छिट्टै अघि बढाइने जनाइएको छ। पार्टी स्रोतका अनुसार नयाँ नेतृत्व घोषणासँगै यी संगठनहरूको गतिविधि फेरि सक्रिय हुने अपेक्षा गरिएको छ।