`

सुधारको नाममा सरकार व्यक्ति केन्द्रित बन्दै गएको खुश्बु ओलीको आरोप

काठमाडौं । खुश्बु ओलीले सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै गएको आरोप लगाएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी की प्रमुख सचेतक ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै स्थापित प्रक्रिया र संस्थागत मर्यादामाथि हस्तक्षेप भइरहेको दाबी गरिन् ।

उनले लेखेकी छन्, ‘आज सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै छन् । स्थापित मापदण्ड र संस्थागत प्रक्रियालाई कमजोर बनाउँदै राज्य आत्मघाती र खतरनाक दिशातर्फ अगाडि बढ्दै छ ।’

उनले वरिष्ठता केवल उमेर वा रोल क्रमको विषय नभई संस्थागत स्मृति, कानुनी स्थिरता, अनुभव, निर्णय क्षमता, कार्यसम्पादन र संस्थाप्रतिको विश्वाससँग जोडिएको समष्टिगत मापदण्ड भएको उल्लेख गरिन् ।

ओलीले भनिन्, ‘के हो वरिष्ठता ? रोल क्रम अनुसार वरिष्ठ हुनु भनेको कपाल फुल्नु र उमेर मात्र बढ्नु हो भन्ने खालका गलत भाष्य सत्तापक्षले स्थापित गर्न खोज्दै छ, जुन गलत छ । वरिष्ठता त संस्थागत स्मृति, कानुनी स्थिरता, अनुभव, निर्णय क्षमता, कार्यसम्पादन र संस्थाप्रतिको विश्वासको समष्टिगत मापदण्ड हो ।’

प्रमुख सचेतक ओलीले वरिष्ठताको स्थापित रोल क्रम मिच्दै चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरिएको घटनाले संवैधानिक तथा सार्वजनिक नियुक्तिहरूमा गलत नजिर स्थापित गरेको बताइन् ।

विधि, प्रक्रिया र संस्थागत मर्यादा कायम गर्ने दाबी गर्ने सरकारले आफ्नै प्रतिबद्धतामाथि प्रश्न उठाएको उनको भनाइ छ ।

उनले भनिन्, ‘सरकारले वरिष्ठताको स्थापित रोल क्रम मिच्दै चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरेको घटनाले देशका विभिन्न संवैधानिक तथा सार्वजनिक नियुक्तिहरूमा गलत नजिर स्थापित गरेको छ । विधि, प्रक्रिया र संस्थागत मर्यादा स्थापित गर्ने दाबी गर्ने सरकारले फेरि एक पटक आफ्नै प्रतिबद्धतामाथि प्रश्न उठाएको छ । राज्य प्रणालीमा विधिभन्दा अधिनायकवाद निर्णायक बन्दै गएको सन्देश यस कदमले दिएको छ । दुर्भाग्य, फेरि एक पटक थिति बसाल्ने अवसर गुमाइएको छ ।’

इरानद्वारा यूएईमा मिसाइल र ड्रोन प्रहार

एजेन्सी। संयुक्त अरब इमिरेट्स ले इरान बाट मिसाइल र ड्रोन आक्रमण भइरहेको जनाएको छ । यूएईको रक्षा मन्त्रालयले अरबी भाषामा जारी गरेको वक्तव्यमा देशभरि मिसाइल तथा मानवरहित हवाई साधनविरुद्ध प्रतिकारात्मक कारबाही जारी रहेको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार शुक्रबार बिहान देशका विभिन्न क्षेत्रमा विस्फोटजस्ता आवाज सुनिएका थिए । सुरक्षा निकायहरूले सर्वसाधारणलाई शान्त रहन तथा सम्बन्धित निकायबाट जारी गरिएका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेका छन् ।

यसअघि अप्रिल ९ मा संयुक्त राज्य अमेरिका–इरान युद्धविराम सुरु भएसँगै यूएईले आफ्नो हवाई क्षेत्र सुरक्षित रहेको घोषणा गरेको थियो । तर त्यसपछि पनि यूएईले इरानबाट आएका आक्रमणहरू अवरोध गर्दै आएको बताइएको छ ।

पछिल्ला दुई महिनामा इरानबाट भएका आक्रमणमध्ये सबैभन्दा धेरै आक्रमण यूएईले सामना गरेको जनाइएको छ ।

सासूको हत्या : बुहारी पक्राउ

रुपन्देही।  प्यूठानमा सासूको हत्या गरेको आरोपमा सौतेनी बुहारी पक्राउ परेकी छन्। स्वर्गद्वारी नगरपालिका–६ डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनार २०७९ मंसिर १ गते मृत अवस्थामा फेला परेकी थिइन्।

धनीकुमारी टाउकोमा गम्भीर चोट लागेको अवस्थामा छिमेकीको बारीमा मृत भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो।

प्यूठान प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार सुरुवाती चरणमा घटनामा संलग्न व्यक्ति खुल्न नसकेपछि अनुसन्धान जारी राखिएको थियो। पछिल्लो अनुसन्धानबाट सौतेनी कान्छी बुहारीको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको उनले बताए।

प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई नियन्त्रणमा लिएको जनाएको छ। हाल उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार प्यारालाइसिसबाट थलिएकी सासूको रेखदेख गर्नुपर्ने झन्झटका कारण हत्या गरिएको आशंकासहित प्रहरीले मुद्दा अघि बढाएको जनाएको छ।

छालामा आउने कालो दाग कसरी हटाउने?

काठमाडौं ।  छालामा देखिने कालो दाग वा हाइपरपिग्मेन्टेशन धेरै कारणले उत्पन्न हुने सामान्य समस्या हो। जुन हार्मोनल असन्तुलन, अत्यधिक घामको किरण, उमेर बढ्दै जाँदा हुने छालाको परिवर्तन तथा चोटपटकका कारण देखिन्छन्। यस्ता दागहरु पछिसम्म पनि बाँकी रहन्छन् । 

आयुर्वेदमा यस्तो पिग्मेन्टेशन कम गर्न विभिन्न प्राकृतिक उपचारहरू अपनाउन सकिन्छ । कुंकुमादी तेल छालाको दाग हल्का बनाउन र चमक बढाउन प्रभावकारी मानिन्छ, जसलाई दिनमा एक दुई पटक लगाएर ३० मिनेटपछि धुनुपर्छ। 

त्यस्तै, चन्दन पाउडरलाई गुलाबजलसँग मिसाएर बनाएको पेस्ट २०-३० मिनेट छालामा राख्दा शीतलता प्रदान गर्दै कालोपन घटाउँछ। नीमका पातमा रहेका एन्टिब्याक्टेरियल र एन्टिइन्फ्लेमेटरी गुणले छालालाई सफा र स्वस्थ राख्छन्, जसका लागि नीमको पेस्ट सुकाएपछि धुने बानी प्रभावकारी हुन्छ। 

हल्दीमा रहेको कर्क्यूमिन तत्व छालाको रङ सुधार्न महत्त्वपूर्ण हुन्छ।  बेसारलाई दही वा दूधसँग मिलाएर लगाउँदा दाग क्रमशः कम हुँदै जान्छ। एलोभेराको जेल रातभर दाग भएको भागमा लगाई बिहान धुने गर्दा छाला निखारिँदै जान्छ। मञ्जिष्ठा रगत शुद्ध गर्ने आयुर्वेदिक जडीबुटी भएकाले यसको सेवन वा पेस्टले छालालाई स्वच्छ र उज्यालो बनाउन मद्दत गर्छ। 

त्रिफला पनि शरीर शुद्धीकरणका लागि उपयोगी मानिन्छ। यसको सेवन वा प्रयोगले छालाको चमक बढाउँछ। नारिवल तेल छालामा नमी कायम राखी सेलहरू पुनर्जीवित गर्न योगदान पुर्‍याउँछ, जसले कालो दाग हल्का बनाउन मद्दत गर्छ। 

यी आयुवेर्दिक र घरायसी उपचारसँगै दिनभर पर्याप्त पानी पिउनु, घाममा निस्कँदा सनस्क्रिन प्रयोग गर्नु तथा भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्टयुक्त फलफूल सागसब्जीलाई आहारमा समावेश गर्नु छालाको स्वास्थ्यका लागि अत्यन्तै आवश्यक मानिन्छ।

प्रधानन्यायाधीश नियुक्ति विवादमा एमाले महासचिवको चेतावनी- देश अधिनायकवादतर्फ जान सक्छ (भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले संसद् आह्वान भइसकेपछि अध्यादेश जारी गरेर संवैधानिक परिषद्को बैठक बसालिनु र त्यसकै आधारमा निर्णय गरिनु केवल प्रक्रियागत विषय नभएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘आव्हान भइसकेको संसद् स्थगन गरेर अध्यादेश जारी गरी सोही अनुरूप संवैधानिक परिषद्को बैठक बसेर निर्णय गरिनु केवल प्रक्रियागत विषय होइन, यसको नियतमाथि नै प्रश्न उठेको थियो । त्यसको स्पष्ट संकेत संवैधानिक परिषद्को निर्णयमा देखियो ।’

प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा वरिष्ठ न्यायाधीशहरूलाई पन्छाइएको विषयलाई पोखरेलले अस्वाभाविक र गम्भीर भनेका छन् ।

‘न्यायालयजस्तो गरिमामय संस्थामा तीन-तीन जना वरिष्ठ न्यायाधीशलाई उपेक्षा गरेर प्रधानन्यायाधीश सिफारिस हुनु सामान्य घटना होइन,’ उनले भनेका छन्,’यसले सरकार न्यायालयलाई स्वतन्त्र संस्थाभन्दा आफ्नो प्रभावक्षेत्रभित्र राख्न खोजिरहेको स्पष्ट सन्देश दिएको छ ।’

पोखरेलले विगतमा न्यायालयमाथि राजनीतिकरणको आरोप लागे पनि राजनीतिक प्रकृतिका मुद्दामा अदालतको सक्रियता प्रायः सरकारविरुद्ध देखिने गरेको उल्लेख गर्दै अहिलेको सरकारले भने न्यायालयभित्र आफ्ना पक्षमा ‘न्यायिक पक्षधरत’ निर्माण गर्न खोजेको आशंका व्यक्त गरेका छन् ।

‘सायद वर्तमान सरकार अहिले न्यायालयभित्र आफ्ना पक्षमा न्यायिक पक्षधरता स्थापित गर्न खोजिरहेको हुनु पर्दछ,’ उनले लेखेका छन्, ‘तर यसले संसदीय लोकतन्त्रको शक्ति सन्तुलनको सिद्धान्त कमजोर हुन गई मुलुक अधिनायकवादको बाटोमा फस्ने जोखिम बढाएको छ ।’

पोखरेलले वर्तमान घटनाक्रमलाई विगतका राजनीतिक प्रवृत्तिसँग तुलना गर्दै चेतावनीसमेत दिएका छन् । ‘भदौ २३ र २४ का गलत प्रवृत्तिविरुद्ध समयमै सशक्त ढंगले उभिन नसक्दाको नियति समाज र राष्ट्रले अझै भोग्न बाँकी छ जस्तो देखिँदैछ,’ उनले उल्लेख गरेका छन् ।

६ जना पूर्वमन्त्री मुछिए पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा (भिडियो)

काठमाडौं । ३ अर्ब ६२ करोड भ्रष्टाचार भएको पोखरा विमानस्थल प्रकरणमा ६ जना पूर्वमन्त्री तानिएका छन् । बिहीबार अख्तियारले  पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध पनि आरोपपत्र दायर गरेसँगै छ जना मन्त्री पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा जोडिएका हुन् ।

यसअघि गत वर्ष मंसिरमा अख्तियारले तत्कालीन पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको थियो । तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटीलाई विपक्षी बनाइएको थियो । बिहीबारको मुद्दामा अर्का मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि जोडिएका छन् । बोगटीको निधन भइसकेकोले उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी छन् ।

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र डा. रामशरण महतका कांग्रेस नेता हुन् । पूर्वपर्यटनमन्त्री भीम आचार्य र दीपक अमात्य एमाले नेता हुन् । पूर्वमन्त्री रामकुमार श्रेष्ठ पूर्वसचिव हुन्, जो खिलराज रेग्मीको चुनावी सरकारमा मन्त्री बनेका थिए । पोष्टबहादुर बोगटी माओवादी नेता थिए ।

अख्तियारको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्था विपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबीसहित आरोप पत्र पेस भएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।

३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो माग दाबी गरेर अख्तियारले मुद्दा दायर गरेको लामिछानेले बताए ।

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा कर्मचारीहरू भने खरिदारदेखि सचिवसम्म र ठेकेदार कम्पनीसम्म जोडिएका छन् ।

 

‘संविधानले प्रधानमन्त्रीलाई राजा बनाएको छैन’ भन्दै कांग्रेसको बालेनप्रति आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी हालै जारी गरिएको अध्यादेश र त्यसअन्तर्गत भएको निर्णय प्रक्रियाप्रति गम्भीर असहमति जनाएको छ ।

कांग्रेसले प्रधानमन्त्रीलाई संविधानले ‘राजा’ नबनाएको भन्दै संवैधानिक परिषद्मार्फत गरिएको निर्णय लोकतान्त्रिक मूल्य र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको आरोप लगाएको हो ।

पार्टी प्रवक्ता देवराज चालीसे द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रमा संविधानको सर्वोच्चतालाई स्वीकार गरिएको हुन्छ । संविधानले प्रधानमन्त्रीलाई निर्णायक राजा बनाएको छैन, उत्तरदायी संयोजकको भूमिकामात्र दिएको छ ।’

कांग्रेसले वर्तमान अध्यादेशमार्फत गणपूरक संख्या घटाएर प्रधानमन्त्रीसहित तीन जनाले मात्रै संवैधानिक निकायमा नियुक्ति गर्न सक्ने व्यवस्था गरिएको भन्दै यसले संवैधानिक निकायहरूको स्वतन्त्रतामाथि गम्भीर असर पार्ने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक परिषद्को सीमित मतले गरेको प्रधानन्यायाधीश सम्बन्धी निर्णयले संविधानको मूल मर्म, न्यायिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमाथिको खुला प्रहार गरेको छ ।’

कांग्रेसले संविधानले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त आत्मसात गर्दै संवैधानिक परिषद्को संरचना बनाएको स्मरण गराउँदै सरकार, विपक्षी दल र निष्पक्ष संस्थाहरूको सहभागिताबाट संवैधानिक निकायहरूलाई कार्यपालिकाको प्रत्यक्ष नियन्त्रणबाट बाहिर राख्ने उद्देश्य रहेको उल्लेख गरेको छ ।

पार्टीले सर्वोच्च अदालतले संवैधानिक परिषद्को निर्णय प्रक्रियाबारे दिएको फैसलासमेत बेवास्ता गरिएको दाबी गरेको छ । कांग्रेसका अनुसार ६ सदस्यीय परिषद्मा ३ जनाको निर्णयलाई बहुमत मान्न नसकिने नजिर सर्वोच्च अदालतले यसअघि नै स्थापित गरिसकेको छ ।

कांग्रेसले अध्यादेशमार्फत स्वतन्त्र न्यायपालिका, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोक सेवा आयोगजस्ता संवैधानिक निकायहरूलाई कार्यपालिकाको प्रभावमा ल्याउने प्रयास भएको आरोपसमेत लगाएको छ ।

‘यो अध्यादेश र यसअन्तर्गत भएको निर्णय प्रक्रियाले शक्ति पृथकीकरणको सिद्धान्त ध्वस्त पारेर देशलाई एकलौटी शासनतर्फ डोर्‍याउनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

‘प्रचण्ड’ले मन्त्रीबाट हटाइएपछि भड्किएका किरातीको साम्पाङसँग हातेमालो

काठमाडौं । पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीको वरिष्ठ नेता हुने भएका छन् । गएराति पार्टी अध्यक्ष हर्क साम्पाङ एक समझदारी गर्दै किरातीलाई वरिष्ठ नेता बनाउन तयार भएका हुन् ।

किराती समूहबाट एक जना सचिव र १५ जना सदस्य हुने समझदारीपत्रमा उल्लेख छ । आजै बागबजारको हार्दिक होटलमा पत्रकार सम्मेलन गरी किराती समूह श्रम संस्कृति पार्टीमा प्रवेश हुने छ ।

पूर्वमाओवादी नेता किराती पार्टी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटनमन्त्रीबाट हटाएपछि यति असन्तुष्ट थिए कि उनले पार्टी नै छाडे । उनले एक अन्तर्वार्तामा भनेका छन्– प्रचण्डले हठात् मन्त्रीबाट हटाउँदा मेरो बेहाल भयो ।’

यसपछि माओवादी पार्टी छाडेका उपमहासचिव जनार्दन शर्मासँग मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी खोले । ५ जना रहेको अध्यक्षमण्डलको सदस्य भए ।

यही भूमिकामा हुँदा उनले भोजपुर र सुनसरी–१ मा साम्पाङको दल श्रम संस्कृति पार्टीका उम्मेदवारहरूलाई सघाए । प्रलोपा यतिबेला लोप भइसकेको छ ।

किरातीले प्रतिनिधिसभाको पाँचौँ ठूलो दल श्रम संस्कृतिलाई रोजे । केही दिनअघि अध्यक्ष हर्कले एकतर्फी रुपमा पार्टीको वार्ता समिति भंग गरेको विवरण सार्वजनिक भएको थियो ।

लगत्तै साम्पाङले उक्त समाचारको खण्डन गर्दै किराती श्रम संस्कृति पार्टीको बलियो खम्बा भइसकेको बताएका थिए । नभन्दै वरिष्ठ नेताको हैसियतसहित उनी आफ्नो समूहलाई श्रम संस्कृति पार्टीमा विलय गराउन तयार भए ।

‘…र त्यहाँ घर मात्रै भत्किएनन्’

‘लोग टूट जाते हैं एक घर बनाने में,

तुम तरस नहीं खाते बस्तियाँ जलाने में!’

भारतको भोपालका प्रख्यात गजलकार वशीर बद्र भन्छन्, ‘एउटा सानो घर बनाउन पनि मानिसहरूले धेरै मेहनत, पीडा र संघर्ष सहनुपर्छ। त्यही क्रममा उनीहरू मानसिक र शारीरिक रूपमा टुट्छन्, फुट्छन्। त्यही मेहनत, पसिना र पीडाले बनेका घरहरू कसैले पूरै बस्ती नै जलाइदिन्छन्। जलाउनेहरूले त्यसप्रति कुनै दया-माया देखाउँदैनन्।’

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सुकुमवासी नागरिकहरूसँग गजलकाे शेरमा भनिएजस्तै व्यवहार गरे। सिर्फ दुई दिनमा उनले घर भत्काइदिए र बस्तीमा आगो लगाइदिए। आफ्नो वर्षौं लगाएर बनाएको घरमा आगो लागेपछि हामी सबै खिन्न हुन्छौँ। आँखै अगाडि घर जलेपछि तपाईं/हामी सबै रुन्छौँ। तर, बालेन्द्रले रुन पनि दिएनन्, उल्टो घर जलेपछि रुनेलाई ‘हुकुमवासी’ करार गरिदिए। अपराधीजस्तो बनाइदिए। लौरो र बन्दुक देखाएर आँसु पनि खसाल्न नदिइकन खेदे।

बुद्धको ठूलो भक्त बताउने, अझ शान्तिको ठूलो हवाला दिने वालेन्द्रले बालाजु, बल्खु, अनामनगर, मनोहरा, थापाथलीलगायतका सुकुमवासी बस्ती भत्काउन बन्दुकसहित सेना पठाउँदा ८/१० वर्षका बच्चाहरू कति त्रासदीमा रहे हाेलान् ? गरिबी अन्त्यको भजन गाउने वालेन्द्रले तीन हजारभन्दा बढी हतियारधारी सुरक्षा फौज पठाउँदा त्यहाँ चाउचाउ बेचेर भात खाने आमाहरूले के सोचे होलिन् ?

वा! वालेन्द्र, तिम्रो बहादुरी, वा!

तपाईं एकछिन यसो सोच्नुस् त-
तपाईं भर्खर पाँच वर्षका हुनुभएको छ। या तपाईंको काखमा १५ दिनको दुधे बालक दूध खान चिच्याइरहेको छ। अथवा सोच्नुस्, तपाईंको उमेर ८० वर्ष भयो र लठ्ठी नटेकी तपाईं हिंड्न सक्नुहुन्न।

त्यहीबेला राज्य तपाईंमाथि जाइलाग्न आउँछ-डोजरसहित। सशस्त्र, महानगर र नेपाल प्रहरीसहित। अझ गोलीसहित, सेनासहित। सरकारले तपाईंलाई भन्छ, ‘त्यो घरबाट निस्किने भए निस्क, नत्र तेरो घरमा होइन, टाउकोमा डोजर चल्छ। तेरो नलीखुट्टा भाँचिने गरी लठ्ठी बर्सिन्छ। तेरो गिदी छरिने गरी गोली चल्छ।’

तपाईंले के गर्नुहुन्छ यो बेला? सायद मजस्तै सबैलाई प्राणको माया लाग्छ र मजस्तै सबै भाग्न विवश हुनुपर्छ-त्रासमा।

यसमा मैले आफूलाई किन जोडेको भने सुकुमवासी बस्ती हटाउने क्रममा वालेन्द्रका बर्दीधारीहरूले बस्तीमा महिला, बालबालिका, वृद्ध-वृद्धामाथि जुन उपद्रो मच्चाए, त्यही उपद्रो ममाथि पनि थुप्रियो। मजस्ता धेरै रिपोर्टरहरू माथि।

वालेन्द्रका सिपाहीहरूले अनामनगरमा मलाई भनिरहेका थिए, ‘उता गएर भिडियो खिचेउ भने धोबीखोलामा फालिदिन्छु।’ यो अनामनगरमा मात्रै होइन, थापाथली, मनोहरा, बल्खु सबै ठाउँमा दोहोरियो। म एक्लो मान्छे होइन, जससँग प्रहरीले थुनुवासँग गर्ने जस्तो व्यवहार गर्‍याे । सायद थुनुवासँग पनि त्यस्तो व्यवहार गर्न मिल्दैन।

तर यतिखेर उनीहरू उन्मत्त छन्। उनीहरू अहिले तालीको नसामा लठ्ठ छन्। एउटा एलिट जमातले उनीहरूलाई मदहोस पारेको छ। यतिसम्म कि अहिले उनीहरू मान्छे मार्न पनि पछि हट्दैनन्।

सरकारले सुकुमवासी बस्ती हटाउने अभियान नै थालेको छ। सरकारी जग्गा अतिक्रमण गरेर बस्नेहरूलाई त्यहीँ राख्नुपर्छ भन्ने  होइन, त्याे जग्गा सरकारकै हुनुपर्छ । यसमा दुई मत छैन। तर, मुखैको भात खोसेर होइन। चिर्कटो ओढेर सुतेको ओछ्यान जलाएर होइन। 

सरकारको डोजर अभियानले बस्तीभित्रका मन्दिर, गुम्बा, चर्च, विधालय जस्ता सार्वजनिक संरचना पनि भत्कायो। यसअघि बालेन काठमाडौं महानगरको प्रमुख रहँदा सुकुमवासी बस्ती भत्काएर ती ठाउँहरुमा पार्क निर्माण गर्ने योजना रहेको चर्चा हुने गर्थ्यो।  यदि अहिले पनि सरकारको योजना यथावत् छ भने एउटा पार्क भित्र संग्रहालयका रुपमा वा स्मृतिका रुपमा मन्दिर, गुम्बा, चर्च या अरु सार्वजनिक संरचना रहने कुराले पार्कलाई अझै सुन्दर बनाउन सक्थ्यो।  तर, सरकारले त्यसमा कुनै पनि किसिमले पुन:विचार गरिएको देखिएन। 

बस्ती भत्काउँदा त्यहाँ कसैको कपुरी ‘क’ लेखिएको कापी पुरिएको छ। कसैको आत्मसम्मान ढलेको छ। बालेनकाे डोजरले सुकुमवासी बस्तीमा घर देख्यो तर डरैडरले उत्पन्न भएको घरभित्रको भोक, प्यास, निद्रा, पीडा, चिच्याहट सुनेन। सरकारले पहिले छहारी भत्कायो र पछि भन्यो-‘छहारी चाहिन्छ भने नाम दर्ता गराऊ।’ यसको ठाउँमा यस्तो पनि त हुन सक्थ्यो-‘छहारी नभएकाहरूले नाम दर्ता गराउनु, हामी बस्ती भत्काउँदैछौँ।’ तर सरकारलाई के को चासो। देवता जो बन्नु थियो, देवत्त्वकरण जो गराउनु थियो। 

सरकारले घर भत्काएपछि बासविहीन भएर तीन जना नागरिकले आत्महत्या गरे। १८ वैशाखमा शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका ६१ वर्षीय ईन्द्रबहादुर राई दिउँसो बागमती खोलामा मृत भेटिए ।

‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै बर्बराउँदै निस्केका इन्द्रबहादुर मृत भेटिए

यसअघि काठमाडौंको मनोहरा सुकुम्बासी बस्तीमा डोजर चल्दा रविन तामाङका १७ वर्षे छोराले आत्महत्या गरे । रविनका अनुसार छोरा बालेन सरकारले टहरा भत्काएपछि के गर्ने होला भनेर गम्भीर चिन्तामा थिए । पछि उनी शाैचालयमा झुण्डिएको अवस्थामा मृत फेला परे । 

थापाथलीमा बस्ती हटाउने क्रममा एक महिला बेहोस भइन् ।

मनोहरामा त्यही दृश्य थियो।  जहाँ थुप्रै नागरिक गास, बास र कपासको चिन्तामा थिए। हरेक बस्तीका बसोबासीहरुले कोठा नपाएको दुखेसो गरिरहेका थिए। 

मनोहरामा २५ वर्ष देखि बसोबास गर्दै आइरहेका ६५ वर्षका कृष्ण सुबेदीले हामीलाई भन्दै थिए, ‘सुकुमवासी भनेर कसैले कोठा पनि दिएनन् । ६ जनाको परिवार छ। सरकारले एउटा कोठामा राख्ने भन्ने सुनेका छौँ। ६ जना एउटा कोठामा कसरी बस्नु अब।’

बालाजुमा त्यही कारुणिक दृश्य देखियाे । अलपत्र परेका बालबालिका, पुर्पुराेमा हात राखेर मुर्मुरिएका बुढाबुढी।

‘कोठा खोजेको तीन दिन भइसक्यो, दलित भनेर कसैले कोठा दिएनन्,’ बल्खुमा शान्तामाया नकर्मीले भन्दै थिइन्। 

सुकुमवासी नागरिकहरु ठाउँ ठाउँमा छोराको लाश जलाएर फर्केको बुबाजस्तै मर्माहत थिए। उनीहरुको त्यहाँ घर मात्रै भत्काइएको थिएन- आत्मसम्मान पनि ढालियाे । तर यी सबै घटनामा सारा जग हाँस्यो। मान्छे मर्दा मान्छेले ताली बजाए। खुसी भए । मानौँ, भत्काइएका सुकुमवासी बस्तीहरु कुनै रंगमञ्‍च  हुन् र त्यहाँ रोइरहेका नागरिकहरु ‘कमेडियन’ वा ‘जोकर’ 

सोच्‍नुहाेस् त- यो बेला नेपालको प्रधानमन्त्री वालेन्द्र नभएर शेरबहादुर देउवा, केपी ओली या पुष्पकमल दाहाल भएको भए? उनीहरूले यसरी घर भत्काउँदै हिँडेका भए? त्यसपछि कसैले आत्महत्या गरेको भए?  वालेन्द्रकाे सम्भावित अभिव्यक्ति हुन सक्थ्याे – ‘थापाथली सुकुमवासी बस्ती त भत्कायौ, मनोहरा बस्ती पनि भत्कायौ भने तिम्रो घरमा आगो लगाइदिन्छु ।’

केही ठूला घर देखाएर आफूलाई बौद्धिक करार गर्ने एउटा जमातले सुकुमवासी बस्तीमा बसोबास गरेका नागरिकलाई हुकुमवासी देख्यो।  बस्तीमा भाडामा दिएका ठूला ठूला घर नभएका होइनन्। तर सबैको घर थिएन। सबै हुकुमवासी थिएनन्। सबैले घर भाडामा दिएका थिएनन्। केही घर देखाएर वास्तविक सुकुमवासीलाई हुकुमवासी करार गर्न वालेन्द्रका समर्थक पछि परेनन्। कतिसम्म भने आत्महत्या गर्ने ती दुई जनालाई ‘हुकुमवासीहरूलाई ठिक्क पर्‍याे ’ भन्दै बौद्धिकताको आवरण भिरेका केहीको सहयोगमा यसरी अपराधीकरण गरियो- मानौँ ती दुई जनाले वालेन्द्रले जस्तै कसैको घरमा, कसैको बस्तीमा आगो लगाएर आएका हुन्।

सरकारले बस्ती भत्काएपछि हजारौँ नागरिकहरू बासविहीन भएका छन्। भर्खर स्कुल पढ्दै गरेका बालबालिकाको स्कुल छुटेको छ। सरकारले व्यवस्थापनको नाममा कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा सुकुमवासीहरूलाई हुलेको छ। होल्डिङ सेन्टरबाट दैनिक आर्तनादहरू आउँछन्। सरकार ती आर्तनादहरू सुन्न डराउँछ। सञ्चारकर्मीहरूलाई होल्डिङ सेन्टरमा प्रवेश निषेध गरिन्छ।

देशभर भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसाेबासीकाे सङ्‍ख्या करिब १३ लाख छ । तर सरकार यसरी उनीहरुकाे बस्ती जलाउन लागेको छ कि उनीहरु यो देशका नागरिक नै होइनन्। त्यही भएर त देशका विभिन्न ठाउँमा डोजर चलिरहेकै छ। सुकुमवासीहरू विकल्पहीन भइरहेकै छन्। उनीहरु त्रासदीमा कैद छन्।

सरकारले संचालन गरेको डोजर अभियानबाट २ हजार ६ सय ८७ घरका ८ हजार ७ सय ५० परिवार विस्थापित भएको सरकारी तथ्याङ्क छ।

तथ्यांक अनुसार काठमाडौं उपत्यकाका १५ हजार ३१६ जना विस्थापित भएका छन् । विस्थापित हुनेहरूमा ६ हजार ८५८ पुरुष, ५ हजार ३२५ महिला, १ हजार ४३७ बालक र १ हजार ६९६ जना बालिका छन् ।

उनीहरूमध्ये धेरैसँग न त लालपुर्जा छ, न त राज्यले वैकल्पिक विकल्पको व्यवस्था गरेको छ । तर उनीहरूको पुनःस्थापना, रोजगारी, शिक्षा वा आधारभूत जीवनयापनको विषयमा राज्य गम्भीर देखिएको छैन ।

रास्वपा सांसदकै घरहरु ऐलानी जग्गामा भेटिएपछि अहिले सरकार रोकिएको छ। व्यवस्थापन नगरी सरकारले अब बस्ती भत्काउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले केही दिनअगाडि बताए। 

यसअघि काठमाडौँ महानगरको मेयर हुँदा पनि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले बस्तीमा डोजर चलाउने सुर कसेका थिए। बस्तीमा डोजर पनि पुगेको थियो।  तर राजनीतिक विरोध, सुकुमवासी नागरिकहरुको प्रतिरोध र अदालतको आदेशले त्यतिबेला उनी सफल भएनन्।  

सुकुमवासी समस्या केवल डोजरले समाधान हुने विषय होइन। यसको स्थायी समाधानका लागि वैज्ञानिक भूमि सुधार, व्यवस्थित आवास योजना, रोजगारी सिर्जना र सामाजिक सुरक्षा आवश्यक हुन्छ। अन्यथा डोजरले घर भत्किए पनि समस्या भने उस्तै रहनेछ।

यो पनि पढ्नुहोस्

बालेनले देखाए सत्ताको तुजुक, निमुखा जनताको उठिबास

यो पनि

थापाथली सुकुमवासी बस्ती पुगेर फर्किंदा (भिडियो)

प्रधानन्यायधीशमा मनोज शर्मा सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ। बिहीबार बसेको न्यायपरिषद्को बैठकले उनलाई प्रस्तावित प्रधानन्यायाधीशका रूपमा अघि सारेको हो।

नेपालको न्यायिक इतिहासमा पहिलो पटक वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रममा चौथो नम्बरमा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएका छन्। संसदीय सुनुवाइ समितिबाट अनुमोदन पाएमा शर्मा देशका ३३औँ प्रधानन्यायाधीश बन्नेछन्।

डॉ. शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त भएका थिए। संसदीय सुनुवाइमा स्वीकृति पाएपछि उनले पुरै ६ वर्षको कार्यकाल प्रधानन्यायाधीशका रूपमा पूरा गर्न सक्नेछन्।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, तथा वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई पछि पार्दै संवैधानिक परिषद्ले शर्मालाई सिफारिस गरेको हो।

सरकारको निर्देशनपछि नयाँ कार्यालयको खोजीमा एमाले

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको नाममा रहेको भवन खाली गर्न सरकारले सूचना जारी गरेपछि नेकपा एमाले नयाँ कार्यालयको खोजीमा जुटेको छ। 

भूमि व्यवस्था मन्त्रालयले भोगाधिकार मात्र प्राप्त तर लिजमा परिणत नभएको जग्गा खाली गर्न निर्देश दिएपछि च्यासलस्थित एमाले कार्यालय पनि खाली गर्नुपर्ने अवस्था आएको हो।

०७८ सालदेखि एमाले त्यसै भवनमा बसेको थियो। ०७२ को भूकम्पपछि बल्खुस्थित पार्टी कार्यालय भत्किएपछि केही समय धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानमा पार्टी गतिविधि सञ्चालन गरिएको थियो। तर चक्रपथ विस्तारका क्रममा त्यहाँबाट हट्नुपर्ने भएपछि एमाले थापाथली सर्यो। व्यापारीको घरमा बसेको भन्दै विवाद बढेपछि पार्टी कार्यालय च्यासल पुगेको थियो।

च्यासलमा बसेको बेला पार्टी कार्यकर्ताबाट रकम संकलन गरी नयाँ कार्यालय निर्माणका योजना बनाइए पनि त्यो प्रक्रिया रोकियो। पछि व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरमा १० रोपनी जग्गासहित करिब एक अर्बको भवन निर्माण गरी उपलब्ध गराउने प्रस्ताव गरेपछि २०८१ असोजमा एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले शिलान्याससमेत गरेका थिए।

तर उक्त कार्यालय पनि विवाद बढेपछि बनाउन रोकिएको थियो। 

संवैधानिक परिषद्को बैठक जारी

काठमाडौं । सर्वोच्च अदालतका लागि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा जारी छ। बैठकको नेतृत्व प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष वालेन्द्र शाहले गरिरहेका छन्।

नव जारी अध्यादेशपछि तत्कालै बैठक बोलाइएको हो। परिषद् सचिवालयका अनुसार आजको बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको सिफारिस गर्नु रहेको छ। लामो समयदेखि रिक्त रहेको सर्वोच्च अदालतको नेतृत्व आजै टुंगो लगाउने तयारी सरकारको छ।

२० असोज २०८२ मा तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अवकाशपछि सर्वोच्च अदालत कामु नेतृत्वमा संचालन हुँदै आएको छ। यसले न्यायिक कार्यसम्पादनमा निरन्तरता तथा स्थायीत्वका सवाल उठाउँदै आएकाले आजको बैठकप्रति विशेष ध्यान लागेको छ।

बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन तथा न्यायमन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र उपसभामुख रुबी कुमारी ठाकुर पनि सहभागी रहेका छन्।

परिषद्ले आजै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने अपेक्षा गरिएको छ।

बुटवलमा सुकुमवासीको विरोध प्रदर्शन(तस्वीरहरु)

बुटवल। बुटवलमा आज सुकुमवासीहरूले सरकारविरुद्ध तीव्र विरोध प्रदर्शन गरेका छन्। आफ्नो बासस्थान सुरक्षित गर्ने मागसहित सडकमा उत्रिएका प्रदर्शनकारीहरूले सरकारले वर्षौंदेखि गरेको उपेक्षा तत्काल अन्त्य गर्न नाराबाजी गरेका हुन्।

प्रदर्शनमा सहभागी स्थानीयहरूका अनुसार बुटवलका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका सुकुमवासी परिवारलाई हटाउने सरकारी तयारीबारे खबर फैलिएपछि चिन्ता बढेको थियो। त्यही कारण आज बिहानैदेखि उनीहरूले जुलुस निकालेर सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रदर्शनकारीहरूले उचित वैकल्पिक व्यवस्थाबिनै आफूहरूलाई हटाउन खोज्नु मानवअधिकारविपरीत भएको आरोप लगाएका छन्।

‘बासस्थान हाम्रो अधिकार हो, सरकारले संरक्षण गर्नुपर्छ,’ प्रदर्शनमा सहभागी एक प्रतिनिधिले भने।

स्थितिलाई सम्हाल्न सुरक्षाकर्मी तैनाथ गरिएको थियो भने स्थानीय प्रशासनले प्रदर्शन शान्तिपूर्वक सम्पन्न भएको जनाएको छ।

‘एसी करेन्ट’देखि ‘वायरलेस इनर्जी’सम्म : निकोला टेस्ला

काठमाडौं। निकोला टेस्ला आधुनिक विद्युत् प्रणाली, ऊर्जा प्रविधि र ताररहित सञ्चारको विकासमा निर्णायक भूमिका खेल्ने विश्वप्रसिद्ध वैज्ञानिक हुन्। आज हामीले प्रयोग गर्ने मोबाइल, इन्टरनेट, टेलिभिजन, स्मार्ट उपकरण र विद्युतीय सवारीसाधनसम्मको आधारभूत सोच र प्रविधिमा उनको योगदान गहिरो रूपमा जोडिएको छ।

इतिहासकार तथा चलचित्र निर्माता माइकल क्राउजका अनुसार टेस्ला केवल आविष्कारक मात्र नभई आफ्नो समयभन्दा धेरै अगाडि सोच्ने दूरदर्शी व्यक्ति थिए। जसले मानव सभ्यताको विकासमा दीर्घकालीन प्रभाव पार्ने काम गरे।

सन् १८९० को दशकतिर विश्व अझै विद्युत् प्रविधिको प्रारम्भिक चरणमा थियो। त्यही समयमा टेस्लाले न्यूयोर्कस्थित कोलम्बिया कलेजमा ओसिलेटिङ ट्रान्सफर्मर प्रदर्शन गरेर विद्युत् ऊर्जाको सम्भावना देखाएका थिए।

त्यस समय बिजुली भविष्यको कुरा मानिन्थ्यो। र मानिसहरू यसलाई बुझ्न तथा हेर्नका लागि विशेष प्रदर्शनस्थलमा पुग्थे। इतिहासकार इवान रिस मोरुजको पुस्तक ‘निकोला टेस्ला एन्ड इलेक्ट्रिकल फ्युचर’ मा पनि यही वैज्ञानिक युगको उत्साह र आश्चर्यलाई विस्तृत रूपमा वर्णन गरिएको छ।

निकोला टेस्लाको जन्म सन् १८५६ मा तत्कालीन अस्ट्रियन ह्याप्सबर्ग साम्राज्यमा भएको थियो। जुन अहिले क्रोएशियामा पर्छ। उनका परिवार सर्बियाली मूलका थिए। सन् १८८४ मा उनी अमेरिका पुगे।

जहाँ उनले टमस एडिसनसँग काम गर्न थाले। तर चाँडै नै विद्युत् प्रसारण प्रणालीबारे उनीहरूबीच मतभेद भयो। किनकि एडिसन डाइरेक्ट करेन्ट प्रणालीका समर्थक थिए। भने टेस्ला अल्टरनेटिङ करेन्टलाई भविष्यको आधार मान्थे।

एसी प्रणालीले विद्युत् लामो दूरीसम्म प्रभावकारी रूपमा पुर्‍याउन सक्थ्यो। जसले आधुनिक विद्युत् वितरण प्रणालीको आधार तयार गर्‍यो। यही अवधारणालाई अमेरिकी उद्यमी जर्ज वेस्टिङहाउसले समर्थन गरे। र टेस्लाका पेटेन्टहरू खरिद गरे। यसै कारण टेस्लाको एसी प्रणाली विश्वव्यापी रूपमा स्थापित भयो। र आज पनि यही प्रणाली संसारभर प्रयोग भइरहेको छ।

टेस्लाको इन्डक्सन मोटर पनि अत्यन्त महत्वपूर्ण आविष्कार मानिन्छ। जुन आज उद्योग, घरेलु उपकरण र विद्युतीय सवारीसाधनमा प्रयोग हुन्छ।

यस मोटरले घुम्ने चुम्बकीय क्षेत्र प्रयोग गरेर मेकानिकल शक्ति उत्पादन गर्ने सिद्धान्त प्रस्तुत गर्‍यो। जसले आधुनिक उद्योगलाई स्वचालित र प्रभावकारी बनाउन ठूलो योगदान दियो।

उनले सन् १८९१ मा टेस्ला कोइल विकास गरे। जसले उच्च भोल्टेज र उच्च आवृत्तिको विद्युत् उत्पादन गर्न सक्थ्यो। यही आविष्कारले तारबिना ऊर्जा प्रसारणको सम्भावना देखायो। र पछि रेडियो, टेलिभिजन, वायरलेस नेटवर्क र मोबाइल सञ्चार प्रणालीको आधार तयार गर्‍यो।

टेस्लाले केवल यी मात्र होइन, धेरै अन्य महत्वपूर्ण आविष्कारहरू पनि गरे। उनले आर्क लाइटिङ प्रणाली विकास गरे। जसले सडक र ठूला भवनहरू उज्यालो बनाउन प्रारम्भिक विद्युतीय प्रकाश प्रणालीको रूपमा काम गर्‍यो। उनले हाइ-फ्रिक्वेन्सी जेनेरेटर र उच्च भोल्टेज ट्रान्समिसन प्रणालीमा पनि काम गरे। जसले आधुनिक पावर ग्रिडको आधार बलियो बनायो।

उनको रिमोट कन्ट्रोल प्रविधि पनि अत्यन्त महत्वपूर्ण मानिन्छ। सन् १८९८ मा उनले रेडियो तरंग प्रयोग गरेर सानो डुङ्गा नियन्त्रण गरेर देखाएका थिए। यो नै आधुनिक ड्रोन, रिमोट कन्ट्रोल गाडी र स्वचालित प्रणालीहरूको प्रारम्भिक रूप मानिन्छ।

टेस्लाले एक्स-रे प्रविधिमा पनि प्रयोग गरे। उनले शरीरभित्र हेर्न सकिने विकिरण प्रविधिबारे प्रारम्भिक अनुसन्धान गरे। यद्यपि यसको पूर्ण विकास पछि अन्य वैज्ञानिकहरूले गरे, तर आधारभूत सोच टेस्लाको कामसँग जोडिन्छ।

उनको वायरलेस एनर्जी ट्रान्सफरको सपना सबैभन्दा महत्वाकांक्षी थियो। उनले पृथ्वीको माध्यमबाट नै ऊर्जा प्रसारण गर्न सकिन्छ भन्ने विचार अघि सारे। यही सोचले आधुनिक वायरलेस चार्जिङ, वाइफाइ र रेडियो तरंग प्रविधिको आधार तयार गर्‍यो।

सन् १८९३ मा शिकागोमा आयोजित वर्ल्ड्स कोलम्बियन एक्सपोजिसनलाई टेस्ला र वेस्टिङहाउसले विद्युत् शक्तिले उज्यालो बनाए। र टेस्ला विश्वभर चर्चित भए। त्यसपछि उनले नायग्रा फल्समा विश्वकै पहिलो जलविद्युत् परियोजनामध्ये एकमा महत्वपूर्ण योगदान दिए। जसले ऊर्जा उत्पादनको नयाँ युग सुरु गर्‍यो।

उनले पछि कोलोराडो स्प्रिङ्स प्रयोगशालामा उच्च भोल्टेज बिजुली, पृथ्वीको चुम्बकीय तरंग, र आकाशीय बिजुली (लाइटनिङ) सम्बन्धी अनुसन्धान गरे। यहाँ उनले कृत्रिम बिजुली चमक उत्पन्न गर्ने प्रयोगहरू पनि गरे। जसले आजको प्लाज्मा प्रविधि र उच्च ऊर्जा भौतिकीमा प्रभाव पारेको मानिन्छ।

टेस्लाले ताररहित सञ्चारको सपना पनि देखेका थिए। उनले विश्वभर तत्काल सूचना, आवाज र भिडियो पठाउन सकिने प्रणालीको कल्पना गरेका थिए। यसका लागि उनले अमेरिकी लगानीकर्ता जेपी मोर्गनबाट सहयोग लिएर लङ आइल्यान्डमा विशाल प्रसारण टावर निर्माण सुरु गरे। तर लगानी रोकिएपछि त्यो परियोजना अधुरै रह्यो।

सन् १९४३ मा न्यूयोर्कको एक होटलमा टेस्लाको निधन भयो। जीवनको अन्तिम समय आर्थिक कठिनाइ र एक्लोपनमा बिताए पनि उनको योगदान समयसँगै अझै मूल्यवान् हुँदै गयो। पछि उनका हजारौँ दस्तावेज र आविष्कारहरू बेलग्रेडस्थित निकोला टेस्ला सङ्ग्रहालयमा सुरक्षित गरिए।

आज उनको नाम चुम्बकीय क्षेत्रको एकाइ ‘टेस्ला’ मा अमर छ। साथै सर्बिया र क्रोएशियामा उनका नाममा सडक, विद्यालय र विमानस्थलहरू राखिएका छन्। आधुनिक विद्युतीय गाडी निर्माता टेस्ला कम्पनीले पनि उनको नामलाई विश्वव्यापी रूपमा चिनाएको छ।

टेस्लाले देखेको ऊर्जा, सञ्चार र ताररहित प्रविधिको भविष्य आज हाम्रो दैनिक जीवनको आधार बनेको छ। मोबाइल नेटवर्क, वाइफाइ, विद्युतीय मोटर, स्मार्ट ग्रिड र आधुनिक ऊर्जा प्रणाली सबै उनको दूरदर्शी आविष्कार र विचारसँग गहिरो रूपमा जोडिएका छन्।

परिक्षामा आफ्नै शेरको व्याख्या गर्दा फेल भए ‘बशीर बद्र’

एकजना यस्ता शायर छन्, जसलाई आफ्नै शेरको अर्थ परीक्षा हलमै लेख्नुपरेको थियो। तर आश्चर्यको कुरा, आफ्नै शेरको व्याख्या सही रूपमा लेखेर आए पनि उनी फेल भएका थिए। ती शायर हुन्- ‘बशीर बद्र’।

बशीर बद्र एक प्रसिद्ध भारतीय उर्दू शायर हुन्। उनको जन्म सन् १९३५ मा भारतको उत्तर प्रदेशमा भएको थियो। उनले प्रारम्भिक शिक्षा भारतमै प्राप्त गरे र पछि उर्दू साहित्यमा उच्च अध्ययन गरे।

बद्र विशेषगरी ग़ज़ल लेखनका लागि चिनिन्छन्। उनका शेरहरू सरल भाषा, गहिरो भाव र मानवीय अनुभूतिले भरिएका हुन्छन्, जसले सामान्य मानिसदेखि साहित्यप्रेमीसम्म सबैलाई आकर्षित गर्छ। प्रेम, विछोड, स्मृति र जीवनका सूक्ष्म भावनाहरूलाई उनले अत्यन्त सहज ढंगले प्रस्तुत गरेका छन्।

जीवनमा उनले विभिन्न कठिनाइहरू पनि सामना गरे। तर ती अनुभवहरूले नै उनको शायरीलाई अझ परिपक्व बनायो। उनका धेरै शेरहरू जनमानसमा लोकप्रिय छन्।

बद्रका गजलका शेरहरू सुन्दा मानिसहरूलाई सुनिरहूँ जस्तो लाग्छ। जब पनि मनको अवस्था शब्दमा व्यक्त गर्ने इच्छा हुन्छ, तब बद्रका उर्दू शेरहरू सबैभन्दा पहिले मानसपटलमा आउँछन्। उनलाई पढेर प्रभावित नभएको सायद कोही छैन।

बद्रलाई उर्दूको पूर्ण ग़ज़लकार मानिन्छ। उनले आफैंले पनि लेखेका छन्, ‘म ग़ज़लको मान्छे हुँ। ग़ज़लसँग मेरो जन्मौं-जन्मको सम्बन्ध छ। ग़ज़लको कला नै मेरो कला हो। मेरो अनुभव ग़ज़लको अनुभव हो। म को हुँ? मेरो इतिहास हिन्दुस्तानको इतिहास वरिपरि छ।’

बद्र आफूलाई ग़ज़ल र शायरीको लामो परम्परासँग जोडेर हेर्छन्। यस हिसाबले उनी आफूलाई आर्य, द्रविड़, अरबी, इरानी र मंगोली परम्पराहरूको प्रतिनिधि मान्छन्।

उनका लागि संसार मानवताको एउटा विशाल रूख हो, जसमा हजारौँ साना-ठूला हाँगाहरू छन्। प्रत्येक हाँगा एउटा देश जस्तै हो। उनी भन्छन्, ‘मेरो देश पनि यही विशाल संसारको एउटा हरियाली र सुन्दर हाँगा हो, जुन मलाई सबैभन्दा प्रिय छ। तर मलाई अरू हाँगाहरू र प्रत्येक पातसँग पनि प्रेम छ। जो मेरो देश र मेरो संसारको दुश्मन हो, त्यो मेरो र मानवताको पनि दुश्मन हो।’

यस दृष्टिकोणले बद्रले मानवताको लामो यात्रामा ग़ज़लमार्फत सम्पूर्ण संसारको सुन्दरता, सुख-दुःख र विचारको उच्चता हासिल गरेका छन्। ग़ज़लसँग जन्म-जन्मको सम्बन्ध रहेको बताउने शायरले ग़ज़लको आत्मामा कति गहिरो रूपमा मानवताको पीडा, प्रेम, संघर्ष, चाहना र सफलताहरू वा असफलताहरूलाई समेटिएको देख्न चाहन्छन् भन्ने कुरा स्वतः स्पष्ट हुन्छ। उनका हरेक शेरमा यस्तो चाहना हुन्छ कि संसारको जुनसुकै ठाउँमा पढियोस्, पढ्ने व्यक्तिलाई त्यो आफ्नै कथा जस्तो लागोस्।

अगर तलाश करूँ कोई मिल ही जाएगा
मगर तुम्हारी तरह कौन मुझ को चाहेगा

तुम्हें ज़रूर कोई चाहतों से देखेगा
मगर वो आँखें हमारी कहाँ से लाएगा

न जाने कब तिरे दिल पर नई सी दस्तक हो
मकान ख़ाली हुआ है तो कोई आएगा

मैं अपनी राह में दीवार बन के बैठा हूँ
अगर वो आया तो किस रास्ते से आएगा

तुम्हारे साथ ये मौसम फ़रिश्तों जैसा है
तुम्हारे बा’द ये मौसम बहुत सताएगा

उनका गजल र शेरहरू संसारका धेरै ठाउँमा पुगेका छन्। धेरैपटक मानिसहरूलाई यो शेर कसको हो भन्ने थाहा नहुँदा पनि उनीहरूले उद्धरणका रूपमा प्रयोग गरिरहेका हुन्छन्। उनका सयौँ शेरहरू यसरी नै मानिसहरूको जिब्रोमा बसेका छन्।

एक दिन बशीर बद्र गजल सुनाउँदा सुनाउँदै ‘लोग टूट जाते हैं एक घर बनाने में’ भन्ने पंक्तिमा अड्किए। त्यसपछि ‘घर जलाने’ भन्ने अर्को पंक्ति बिर्सिएर उनी घर बनाउनु भनेको के हो? के घर चार पर्खालको मात्र नाम हो? जब हामी शहर परिवर्तन गर्छौँ, नयाँ ठाउँमा बस्छौँ, पुरानो ठाउँ छोड्छौँ, किन हाम्रो मन फेरि त्यही पुरानो ठाउँतिर फर्किरहन्छ? किन बाहिरको संसार परायो लाग्छ?

उनी गजललाई निरन्तरता नदिई यस्तै सोच्दै बसे।

हुनपनि, हामी पहिले नै भित्रभित्रै टुटेका, छरिएका, आफूभित्र सीमित भएका हुन्छौँ। त्यसैले चौखट बाहिरको संसार कहिल्यै भित्रको जस्तो लाग्दैन। हाम्रो अनुभूतिमा बाधा तब आउँछ, जब भित्र केही सानो कुरा पनि टुट्छ। बाहिर जतिसुकै विघटन भइरहोस्, हाम्रो मन त्यसलाई बेवास्ता गरेर अगाडि बढ्छ।

त्यसैले ‘लोग टूट जाते हैं एक घर बनाने में’ भन्ने पंक्ति केवल ‘घर’ को भौतिक अर्थमा सीमित लाग्दैन। यसका धेरै गहिरा अर्थहरू खुल्दै जान्छन्।

अतीतमा कति कुरा टुटे, कसले मलाई टुटायो, किन म आफैं पनि बारम्बार टुटेँ यी प्रश्नहरू उठ्छन्। कहिलेकाहीँ अझै पनि मनभित्र टुट्ने अनुभव हुन्छ। किन यस्तो भयो? किन सम्बन्धहरू बदलिन्छन्? किन मनभित्रको खुशी हराउँदै जान्छ?

पहिले जस्तै विचारहरूको आँधी किन उठ्दैन? किन जीवनको ऊर्जा हराउँदै गएको जस्तो लाग्छ? जब ‘घर’ लाई आफ्नै तरिकाले परिभाषित गर्न खोजिन्छ, बाहिरको संसार टुटेको देखिन्छ। जहाँ सबै ठीकठाक देखिन्छ, त्यहाँ पनि उदासी महसुस हुन्छ।

सायद ‘टुट्नु’ भनेको ‘छुट्नु’ पनि हो।

अनि यस्तै भावमा बद्र लेख्छन्,

लोग टूट जाते हैं एक घर बनाने में
तुम तरस नहीं खाते बस्तियाँ जलाने में

और जाम टूटेंगे इस शराब-ख़ाने में
मौसमों के आने में मौसमों के जाने में

हर धड़कते पत्थर को लोग दिल समझते हैं
उम्रें बीत जाती हैं दिल को दिल बनाने में

फ़ाख़्ता की मजबूरी ये भी कह नहीं सकती
कौन साँप रखता है उस के आशियाने में

दूसरी कोई लड़की ज़िंदगी में आएगी
कितनी देर लगती है उस को भूल जाने में

बद्र अनन्त चम्किरहने ध्रुव तारा हुन्। उनले प्राप्त गरेको उचाइ उनले सहजै प्राप्त गरेका होइनन्। नेपाली गजलमा प्रदिप रोदन भन्छन् नि,

‘हावा, धुवाँ पुग्छ, धुलो पुग्छ,

चोट नखाई उचाइमा को पुग्छ?’

बद्रले पनि यो उचाइ सहजै पाएका होइनन्। कुनै पनि महान शायरलाई यस्तो स्थान सजिलै मिल्दैन। मीर, ग़ालिब, फ़ैज़, पुरनम सबैले कठिन परीक्षाहरू पार गरेका छन्।

बद्रले पनि धेरै संघर्ष र कठिन समयहरू पार गरेका छन्। उनी ग़ज़लको संसारमा उच्च स्थानमा छन् भने त्यसको कारण उनी जीवनका जटिल अनुभवहरूलाई सरल र प्रभावशाली रूपमा शेरमा उतार्ने क्षमता हो।

उनको यही विशेषताका कारण ग़ज़लप्रति अन्य भाषाहरूमा पनि नयाँ प्रेम र सम्मान पैदा भएको मानिन्छ।

अबुल फ़ैज़ सहरले त यहाँसम्म भनेका छन्,‘बशीर बद्रभन्दा पहिले कुनै ग़ज़ललाई यति विश्वव्यापी लोकप्रियता प्राप्त भएको थिएन।’

मीर र ग़ालिबका शेरहरू पनि प्रसिद्ध छन्, तर विश्वस्तरमा बद्रका शेरहरू जति लोकप्रिय अरू कसैका छैनन्।

यसको कारण आधुनिक मानिसको मनोवैज्ञानिक अवस्थालाई उनले जुन शैलीमा प्रस्तुत गरेका छन्। त्यो पहिले सम्भव थिएन। उनी आज ग़ज़लका सबैभन्दा प्रसिद्ध शायरमध्ये एक मानिन्छन्।

महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत सहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत की पत्नी अम्बिका बस्नेत सहित १० जनालाई जिल्ला अदालत काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पक्राउ परेका उनीहरूलाई अदालतले फरक फरक धरौटी तोकेर रिहा गर्न निर्देशन दिएको हो। सोही मुद्दामा शर्मिला बस्नेत र अभिका बस्नेतलाई ५० हजार रुपैयाँ धरौटी तोकिएको छ। साथै अन्य आठ जनालाई जनही २५ हजार रुपैयाँ धरौटीसहित रिहा गर्ने आदेश अदालतले जारी गरेको छ।

अदालतको आदेशअनुसार कानुनी प्रक्रिया पूरा भएपछि सबै १० जना धरौटीमा बाहिरिने छन्। मुद्दाको थौल प्रक्रिया भने जारी रहने अदालतले जनाएको छ।

शोभा पाठकमाथि अभद्र व्यवहार गरेको आरोपमा १४ वैशाखमा प्रहरीले उनीहरुलाई माइतीघरबाट नियन्त्रणमा लिएको थियो। 

एकदिवसीय शृंखलाका लागि अष्ट्रेलियाले पाकिस्तानको भ्रमण गर्ने

काठमाडौं । अष्ट्रेलियाली पुरुष क्रिकेट टोलीले तीन खेलको एकदिवसीय शृङ्खलाका लागि पाकिस्तान भ्रमण गर्ने भएको छ।

पाकिस्तान क्रिकेट बोर्डले बुधबार जानकारी दिँदै अष्ट्रेलिया र पाकिस्तानबीच तीन खेलको एकदिवसीय शृङ्खला हुने जनाएको हो। पहिलो खेल मे ३० मा रावलपिण्डी क्रिकेट रंगशालामा आयोजना हुनेछ।

त्यसपछि दोस्रो खेल जुन २ मा हुनेछ भने तेस्रो तथा अन्तिम खेल जुन ४ मा लाहोरस्थित गद्दाफी रंगशालामा खेलाइनेछ। तीनै खेल स्थानीय समयअनुसार साँझ ४:३० बजे सुरु हुनेछन्।

यो शृङ्खला मार्च-अप्रिल २०२२ पछि अष्ट्रेलियाको पाकिस्तानमा पहिलो एकदिवसीय भ्रमण हुनेछ। यसअघि यसै वर्ष जनवरी-फेब्रुअरीमा अष्ट्रेलियाले पाकिस्तानमा तीन खेलको टी-२० शृङ्खला खेलेको थियो, जसमा पाकिस्तानले लाहोरमा ३-० को एकपक्षीय जित दर्ता गरेको थियो।

उजाड बनेका सुकुम्बासी बस्तीमा कवाडी संकलन गर्नेहरूको चहलपहल (तस्वीरहरू)

काठमाडौं। सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका बस्ती हटाएपछि ती क्षेत्र अहिले उजाड बनेका छन्। डोजर लगाएर घरटहरा हटाइएपछि त्यहाँ बसोबास गर्दै आएका धेरैलाई होल्डिङ सेन्टरमा राखिएको छ।

भत्काइएका बस्तीका भग्नावशेषबीच अहिले कवाडी संकलन गर्नेहरूको चहलपहल बढ्न थालेको छ। उनीहरूका लागि उजाड बनेका ती बस्ती अहिले आम्दानीको नयाँ स्रोत बनेका छन्।

गत शनिबार टेकुस्थित वंशीघाट क्षेत्रको सुकुम्बासी बस्ती हटाइएपछि त्यहाँ जस्तापाता, फलाम तथा अन्य धातुजन्य सामग्री संकलन गर्न बिहानैदेखि कवाडी व्यवसायी पुग्ने गरेका छन्।

भत्काइएका घरटहराबाट प्रयोगयोग्य सामग्री छुट्याएर बिक्री गर्ने काम अहिले ती क्षेत्रमा तीव्र बनेको देखिन्छ। कतिपयले पुराना जस्ता, फलामका रड, ढोका–झ्यालका भाग तथा अन्य धातुजन्य सामग्री संकलन गरिरहेका छन्।

सरकारले सार्वजनिक जग्गा संरक्षण र नदी किनार व्यवस्थापन अभियानअन्तर्गत बस्ती हटाउने कार्यलाई निरन्तरता दिइरहेको छ। तर विस्थापित परिवारहरूको पुनःस्थापना, वैकल्पिक आवास र जीविकोपार्जनको विषय भने अझै बहसको केन्द्रमा रहेको छ।

होर्मुज जलमार्ग खुला गर्न अमेरिका र इरान सहमति नजिक

काठमाडौं । अमेरिका र इरानबीच होर्मुज जलमार्ग खोल्ने विषयमा सहमति बनेको विभिन्न अन्तर्राष्ट्रिय मिडिया रिपोर्टहरूले जनाएका छन्। रिपोर्टअनुसार दुवै देश अमेरिकी नौसैनिक नाकाबन्दी खुकुलो पार्ने र त्यसको सट्टामा रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्गलाई चरणबद्ध रूपमा पुनः सञ्चालन गर्ने विषयमा सहमत भएका हुन्।

अरबी सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार यो समझदारी बिहीबार दुई देशबीच तनाव बढेपछि भएको हो। अल अरेबियाका अनुसार पनि दुवै पक्षबीच प्रारम्भिक सहमति भएको दाबी गरिएको छ। यसअघि तनावका क्रममा इरानले होर्मुज जलमार्ग बन्द गरेको थियो, जसले विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पारेको बताइएको छ।

रिपोर्टमा स्रोतहरूलाई उद्धृत गर्दै भनिएको छ कि नाकाबन्दी खुकुलो बनाउने र जलमार्ग क्रमशः पुनः सञ्चालन गर्ने सहमति जुटेको हो। अब केही घण्टाभित्र होर्मुज क्षेत्रमा रोकिएका जहाजहरूलाई बाहिर निस्कन अनुमति दिइने सम्भावना रहेको उल्लेख गरिएको छ।

होर्मुज जलमार्ग विश्वकै सबैभन्दा संवेदनशील समुद्री व्यापार मार्गमध्ये एक मानिन्छ, जहाँबाट ठूलो मात्रामा अन्तर्राष्ट्रिय तेल आपूर्ति हुन्छ। यसको अवरोधका कारण विश्व बजारमा ऊर्जा संकट र तेलको मूल्यमा तीव्र उतारचढाव देखिएको थियो।

यस सहमतिले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा बजारमा केही स्थिरता ल्याउने अपेक्षा गरिएको छ। यद्यपि, हालसम्म अमेरिका र इरान दुवै पक्षले यस विषयमा कुनै औपचारिक घोषणा भने गरेका छैनन्।

तनावका क्रममा अमेरिकी लडाकु विमानले इरानको एउटा तेल ट्यांकरलाई क्षति पुर्‍याएको दाबी पनि रिपोर्टहरूमा गरिएको छ। त्यस्तै, तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नभए इरानमाथि थप सैन्य कारबाही गर्न सकिने चेतावनी दिएको उल्लेख गरिएको छ।

मेडिकल काउन्सिलको रजिष्ट्रार पदबाट डा. देव हटाइए

काठमाडौं।  सरकारले डा. सतिश देवलाई नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदबाट हटाएको छ। मन्त्रिपरिषद्को बैठकले काउन्सिलसम्बन्धी नियमावली संशोधन गर्दै उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

यसअघि सरकारले अध्यादेशमार्फत नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा सदस्यहरूलाई समेत पदमुक्त गरिसकेको थियो।

नेपाल मेडिकल काउन्सिल ऐन, २०२० मा “रजिष्ट्रारलाई बर्खास्त, सस्पेन्ड वा अन्य सजाय दिनुपरेमा ऐनअन्तर्गत बनेको नियमबमोजिम गर्ने” व्यवस्था रहेको छ। सरकारले सोही प्रावधानका आधारमा नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ संशोधन गरी डा. देवलाई पदमुक्त गरेको जनाएको छ।

स्रोतका अनुसार नियमावली संशोधनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रजिष्ट्रार पदमा निमित्त तोक्ने तयारी अघि बढाएको छ।

नयाँ व्यवस्थाअनुसार काउन्सिलको प्रशासनिक तथा दर्तासम्बन्धी कामकारबाही निरन्तर सञ्चालन गर्न अस्थायी जिम्मेवारी तोकिने बताइएको छ।

रास्वपाका विवादित सांसद जगदीश खरेलले भने- फेक न्यूज फैल्याइयाे (भिडियो)

काठमाडौं । स्मार्ट टेलिकममा भएको अर्बौँ रुपैयाँको अनियमितता प्रकरणसँग आफ्नो नाम जोडिएकोप्रति पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले कडा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आफूलाई अनियमिततासँग जोडेर प्रस्तुति गरिन थालेपछि खरेलले सार्वजनिक रूपमा स्पष्टिकरण दिँदै आरोपहरू ‘पूर्णतः निराधार’ भएको दाबी गरेका छन्।

खरेलले भनेका छन्, ‘अहिले म माथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नु होला ।’

अहिले आफू कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा रहेको र गल्ती नगरेको भन्दै अलिकति पनि डर नभएको बताएका छन् ।

उनले आफू इमानदार भएको भन्दै भने, ‘सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तब्यको लागि प्रयाप्त छ । यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथी प्रहार गर्छु भनेर नसोचे हुन्छ ।’

उनले कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।

बम प्रहार हुँदा भाजपाका पाँच कार्यकर्ता घाइते

काठमाडौँ । भारतको पश्चिम बंगालस्थित परगना जिल्लाको पानीहाटी क्षेत्रमा भारतीय जनता पार्टी(भाजपा) कार्यकर्ताहरूमाथि बम प्रहार भएको छ । बम प्रहारबाट  कम्तीमा पाँच जना भाजपा कार्यकर्ता घाइते भएको प्रहरीले बिहीबार जानकारी दिएको छ । 

लामो समयदेखि शुभेन्दु अधिकारीका निजी सहायक रहेका चन्द्रनाथ रथको हत्या भएको केही घण्टापछि यो आक्रमण भएको प्रहरीले जनाएको छ । पानीहाटी नगरपालिकाको वार्ड नम्बर २ को दत्ता रोडमा बुधबार घटना भएको हो ।

केही भाजपा कार्यकर्ताहरू जनतासँग कुरा गरिरहेका बेला केही व्यक्तिहरू मोटरसाइकलमा आएर गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

त्यहाँ उपस्थित भाजपा कार्यकर्ताहरूमाथि चार जनाले बम प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । लगातार तीन वटा बम प्रहार भएपछि उनीहरू भागेका प्रहरीले जनाएको छ।  

घाइतेहरूलाई गम्भीर अवस्थामा आरजी कर मेडिकल कलेज र अस्पताल लगिएको छ । बम प्रहारको खबर पाएपछि खरदाह प्रहरी चौकीका अधिकारीहरू घटनास्थलमा पुगेका थिए । खरदाह प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । क्षेत्रको सीसीटीभी फुटेज जाँच भइरहेको छ । दोषीहरूको खोजीकार्य तीव्र पारिएको छ ।  

६ दशमलव ९४ अंकले उकालो लाग्यो नेप्से

काठमाडौं।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। परिसूचक ६.९४ अंकले बढेर २ हजार ७१८.१६ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ।

आज ३३४ कम्पनीका ६६ लाख ८४ हजार ७ कित्ता शेयर ४५ हजार ६५ पटक खरिद–बिक्री हुँदा कुल २ अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँ बराबरको कारोबार भएको छ।

समूहगत सूचकतर्फ बैंकिङ ०.३३, विकास बैंक ०.२९, होटल तथा पर्यटन ०.२०, जीवन बिमा ०.३०, लघुवित्त ०.३५, व्यापार १.५७ र अन्य समूह ०.८३ प्रतिशतले बढेका छन्। यद्यपि अधिकांश अन्य उपसमूह भने घटेका छन्।

घट्ने समूहमा वित्त ०.०८, लगानी ०.०७, उत्पादन तथा प्रशोधन ०.०८, म्युचुअल फन्ड ०.१६ र निर्जीवन बिमा ०.५६ प्रतिशतले गिरावट आएको छ।

आजको कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा बढी १७ करोड ६८ लाख ३३ हजार ३६९ रुपैयाँ बराबरको कारोबार भएको छ।

सुकुम्बासीलाई जुरुक्क उचाल्दै हर्कले भने -‘टसमस नगर्नु’

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वालेन्द्र शाह (बालेन)नेतृत्वको सरकारले हटाएका सुकुम्बासीबारे सुकुम्बासीलाई उचाल्ने अभिव्यक्ति दिएका छन्।

सुकुम्बासी बस्ती हटाउने सरकारी कदमको निरन्तर आलोचना गर्दै आएका साम्पाङले सामाजिक सञ्जालमार्फत सुकुम्बासीलाई सम्बोधन गर्दै लेखेका छन्।

‘जहाँ तपाईंको घर थियो त्यहीँ गएर बस्नु है सुकुम्बासी दाजुभाइ दिदीबहिनी हो। त्यही होस् तपाईंको घर अनि त्यही होस् तपाईंको चिहान। टसमस नगर्नु।’

नेपाल ‘ए’को ब्याटिङ, स्कटल्यान्डलाई २७८ रनको लक्ष्य

काठमाडौं।  आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको आगामी शृंखलाअघि खेलिएको अभ्यास खेलमा बिहीबार नेपाल ‘ए’ले भ्रमणकारी टोली स्कटल्यान्डलाई जितका लागि २ सय ७८ रनको लक्ष्य दिएको छ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७७ रन बनाएको हो।

नेपालका लागि देव खनालले उत्कृष्ट अर्धशतकीय पारी खेले। तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ६३ रन बनाए। उनले ६५ बल खेल्दै १ छक्का र ६ चौका प्रहार गरे।

ओपनर मायान यादवले ४५ रनको योगदान दिए। उनले ८६ बलमा १ छक्का र ५ चौका प्रहार गरे। सन्दीप जोराले ३६ बलमा १ छक्का र ३ चौकासहित ३४ रन जोडे।

पवन सर्राफले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ३ छक्का र १ चौकासहित ३१ रन बनाए। दीपक प्रसाद डुम्रेले अविजित २३ रनको योगदान दिए।

स्कटल्यान्डका बलर ब्राड्ली करी र सफयान सरिफले समान २–२ विकेट लिए।

नेपाल ‘ए’ले राम्रो ब्याटिङ प्रदर्शन गर्दै बलियो लक्ष्य दिएको छ, जसले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

नेपालमा ‘परालको आगो’ प्रदर्शन,प्रकाश गोवामा परिवारसँग गर्दैछन् मस्ति

काठमाडौं। वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।

प्रदर्शनको पहिलो हप्ता मै फिल्मले आफ्नो लगानी सुरक्षित गरिसकेको निर्माण पक्षले जनाएको छ। यससँगै फिल्मलाई व्यावसायिक रूपमा सफल मान्न थालिएको छ।

फिल्मले राम्रो व्यापार गरिरहेकै समयमा मुख्य अभिनेता प्रकाश सपुत भने हाल भारतको पर्यटकीय शहर गोवामा रहेका छन्। उनी परिवारसहित—छोरा, छोरी र श्रीमतीसँग गोवामा घुमघाममा व्यस्त रहेको देखिएको छ।

यसबीच दर्शक भने फिल्ममा उनको अभिनय हेरेपछि प्रत्यक्ष भेटघाट वा प्रतिक्रिया दिन नपाएको भन्दै सामाजिक सञ्जालमा खोजी गरिरहेका छन्। कतिपय दर्शकले फिल्म प्रदर्शनको समयमा अभिनेता सार्वजनिक रूपमा उपलब्ध नहुनुलाई लिएर हल्का असन्तुष्टि पनि जनाएका छन्।

तर सपुतले सामाजिक सञ्जालमार्फत फिल्म हेर्न आग्रह गर्दै आएका छन्। उनले गोवामा खिचिएको तस्बिर सेयर गर्दै ‘यो छोटो विश्रामपछि फेरि भेटौँला, नजिकको सिनेमाघरमा फिल्म ‘परालको आगो’ हेर्दै हुनुहुन्छ’ भन्दै क्याप्सन लेखेका छन्।

उनी अहिले पारिवारिक समय बिताइरहे पनि फिल्मको प्रचारप्रसारमा जोडिँदै दर्शकलाई हलसम्म पुग्न आग्रह गरिरहेका छन्।

फिल्मले व्यावसायिक सफलता पाइरहेको अवस्थामा अभिनेता विदेश घुम्न जानु स्वाभाविक विश्राम हो वा रणनीतिक निर्णय भन्ने विषयमा दर्शकबीच मिश्रित प्रतिक्रिया देखिएको छ।

नेपालमा पहिलो पटक टियर फोर हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौं। नेपालमा पहिलो पटक टियर फोर हाइपरस्केल डाटा सेन्टर निर्माण हुने भएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै बिचुटेन डाटा भल्ट प्रालिले देशको डिजिटल पूर्वाधारलाई नयाँ उचाइमा पुर्‍याउने घोषणा गरेको हो।

कम्पनीले यो परियोजना नेपाली उद्यमी नवीन अग्रवाल, मीन अग्रवाल, अनुज कियाल, विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा अघि बढाइएको जनाएको छ। परियोजनाले नेपालको डिजिटल सार्वभौमिकता र डाटा सुरक्षालाई मजबुत बनाउने लक्ष्य लिएको छ।

कम्पनीका अनुसार डाटा सेन्टर काठमाडौं र वीरगन्जमा निर्माण गरिनेछ। प्रारम्भिक चरणमा २४० किलोवाट क्षमताबाट सुरु हुने परियोजनालाई सन् २०३० सम्म ५ मेगावाट क्षमतामा विस्तार गर्ने योजना रहेको छ।

यो नेपालकै पहिलो टियर फोर प्रमाणित डाटा सेन्टर हुने दाबी गरिएको छ। यस्तो स्तरको डाटा सेन्टरले ९९.९९५ प्रतिशत अपटाइम सुनिश्चित गर्ने भएकाले वर्षभरि अत्यन्त न्यून प्राविधिक अवरोध मात्र हुने कम्पनीले जनाएको छ।

परियोजनामा इन कन्ट्री डाटा रेसिडेन्सी अवधारणालाई प्राथमिकता दिइएको छ। यसले विदेशी सर्भरमाथिको निर्भरता घटाउँदै राष्ट्रिय साइबर सुरक्षा र डिजिटल आत्मनिर्भरता मजबुत बनाउने अपेक्षा गरिएको छ।

ऊर्जा दक्ष र नेपालकै जलविद्युतमा आधारित हुने भएकाले यो डाटा सेन्टरलाई वातावरणमैत्री पूर्वाधारका रूपमा विकास गरिने कम्पनीले जनाएको छ। साथै, सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना हुने विश्वास गरिएको छ।

कम्पनीले बिचुटेन नाम जापानी बौद्ध परम्परामा भगवान विष्णुको नामबाट प्रेरित रहेको बताएको छ, जसको अर्थ रक्षक भन्ने हुन्छ। दीर्घकालीन रूपमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप र ट्याब्लेट उत्पादन गर्ने लक्ष्य पनि कम्पनीले अघि सारेको छ।

सलमान नमानेपछि ट्रम्पको नौसैनिक योजना यता न उता

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजलाई सुरक्षा एस्कोर्ट उपलब्ध गराउने महत्वाकांक्षी नौसैनिक योजना अचानक स्थगित गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार साउदी अरेबियाले अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न तथा प्रिन्स सुल्तान एयरबेस सञ्चालनमा ल्याउन अनुमति दिन अस्वीकार गरेपछि उक्त योजना रोकिएको हो। एनबिसी न्युजले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार यो योजना ‘प्रोजेक्ट फ्रिडम’ नाम दिइएको थियो, जसलाई खाडी क्षेत्रका साझेदार मुलुकहरूसँग पर्याप्त समन्वय बिना अघि बढाइएको थियो।

रिपोर्टअनुसार राष्ट्रपति ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमानसँग प्रत्यक्ष टेलिफोन संवादमार्फत सहयोगको प्रयास गरेका थिए। तर रियादले आफ्नो भूभाग र हवाई मार्ग प्रयोग गर्न अनुमति नदिएपछि अपरेसन तत्काल स्थगित गर्नुपरेको हो।

एक साउदी स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ कि यस्तो प्रकारका सैन्य गतिविधिमा परिस्थितिहरू तीव्र रूपमा बदलिने भएकाले साउदी अरेबिया प्रत्यक्ष सैन्य तनावभन्दा कूटनीतिक समाधानको पक्षमा रहेको छ। साउदी अरेबियाले अमेरिका-इरानबीच सम्भावित समझदारीका लागि पाकिस्तानले नेतृत्व गरिरहेको कूटनीतिक पहललाई पनि सकारात्मक रूपमा हेरेको बताइएको छ।

यसैबीच, ह्वाइट हाउसका एक अधिकारीले भने अमेरिकी प्रशासनले क्षेत्रीय साझेदारहरूलाई योजना बारे पहिले नै जानकारी गराइएको दाबी गरेका छन्। तर पश्चिम एसियाली कूटनीतिज्ञहरूले भने अमेरिका आफैंले योजना सार्वजनिक गरेपछि मात्र ओमानलगायत सम्बन्धित पक्षसँग समन्वय सुरु गरेको बताएका छन्।

उक्त कूटनीतिज्ञका अनुसार ‘पहिले घोषणा गर्ने र त्यसपछि समन्वय खोज्ने शैली’ ले क्षेत्रीय साझेदारहरूलाई असहज बनाएको देखिन्छ।

यस घटनापछि इरानले हर्मुज जलघाँटी क्षेत्रमा सञ्चालित व्यावसायिक जहाजलाई आवश्यक सम्पूर्ण सहायता उपलब्ध गराउने घोषणा गरेको छ। इरानको बन्दरगाह तथा समुद्री सङ्गठनले समुद्री सुरक्षा, प्राविधिक सहयोग, स्वास्थ्य सेवा र इन्धन आपूर्ति उपलब्ध गराउन सम्पूर्ण संरचना सक्रिय पारिएको जनाएको छ।

इरानी पक्षले जहाजहरूको सुरक्षा सुनिश्चित गर्न मर्मतसम्बन्धी सेवा र आपत्कालीन सहयोग समेत उपलब्ध गराइने बताएको छ। साथै, जहाजहरूलाई नजिकका समुद्री केन्द्रमार्फत सम्पर्क गर्न आग्रह गरिएको छ।

खाडी क्षेत्रमा पछिल्ला महिनाहरूमा अमेरिका र इरानबीच तनाव बढ्दै गएको अवस्थामा हर्मुज जलघाँटी फेरि अन्तर्राष्ट्रिय रणनीतिक केन्द्रविन्दु बनेको छ। विश्वको ठूलो मात्रामा तेल आपूर्ति यही मार्गबाट हुने भएकाले यहाँको कुनै पनि सैन्य गतिविधिले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष असर पार्ने विश्लेषकहरूको भनाइ छ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत ‘प्रोजेक्ट फ्रिडम’ अस्थायी रूपमा रोकिएको घोषणा गर्दै पाकिस्तानको आग्रहपछि निर्णय गरिएको बताएका थिए। उनले अमेरिका र इरानबीच सम्भावित समझदारीतर्फ प्रगति भइरहेको दाबी गर्दै तनाव कम गर्न यो विराम आवश्यक रहेको उल्लेख गरेका छन्।

विश्लेषकहरूका अनुसार साउदी अरेबियाको असहमतिले अमेरिकाको क्षेत्रीय रणनीतिमा चुनौती थपिएको छ भने पाकिस्तान र ओमानजस्ता मुलुकको कूटनीतिक सक्रियता अहिलेको तनाव व्यवस्थापनमा महत्वपूर्ण बन्दै गएको देखिएको छ।

रास्वपाकै सांसदहरुकाे ‘बङ्‍गला’ सरकारी जग्गामा : रोकियो बालेनकाे ‘डोजर अभियान’

काठमाडौं।  गरिबका टहरा र छाप्रा हटाउन डोजर प्रयोग गरेको बालेन सरकारले सार्वजनिक जग्गामा निर्माण गरिएका आफ्नै पार्टी रास्वपाका सांसदहरुकाे घर भत्काउँछन् कि भत्काउदैनन् ? याे आम प्रश्‍न बनेकाे छ ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को निर्देशनमा सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको सुकुम्बासी बस्ती हटाउने अभियान अहिले आएर रोकेको छ। सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने नाममा सञ्चालन गरिएको उक्त अभियान रास्वपाकै सांसदहरु विवादमा आउन थालेपछि रोकिएको हो । 

रास्वपाका केही सांसद तथा नेताहरू स्वयं सार्वजनिक वा ऐलानी जग्गामा बसोबास गरेको तथ्य बाहिरिएपछि सरकारले दोहोरो मापदण्ड अपनाएको आरोप छ। सांसदहरु केपी खनाल, सागर ढकाल, जगत जोशी लगायतकाे घर नै सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको विषय अहिले चर्चामा छ। यही कारणले पनि सरकार दबाबमा परेर  डाेजर अभियान रोक्न बाध्य बनेको हो। 

देशभर अहिले पनि लाखौँ अव्यवस्थित बसोबासी छन्। उनीहरूमध्ये धेरैसँग न त लालपुर्जा छ, न त राज्यले वैकल्पिक आवासको व्यवस्था ।सरकारी तथ्याङ्कअनुसार पछिल्लो समय सञ्चालन गरिएका डोजर अभियानका कारण ८ हजार ७ सय ५० भन्दा बढी परिवार प्रत्यक्ष रूपमा विस्थापित भएका छन्। तर उनीहरूको पुनःस्थापना, रोजगारी, शिक्षा वा आधारभूत जीवनयापनको विषयमा राज्य गम्भीर देखिएको छैन ।

कैलाली क्षेत्र नम्बर-२ बाट निर्वाचित रास्वपा सांसद केपी खनालको घर ऐलानी जग्गामा रहेको तथ्य सार्वजनिक भएको छ। चुनावी अभियानका क्रममा उनले आफू सुकुम्बासी उम्मेदवार भएको अभिव्यक्ति दिएका थिए। 

त्यसैगरी, बारा क्षेत्र नम्बर-१ का सांसद गणेश धिमालले कोल्हबी नगरपालिका-१ मा सरकारी जग्गा प्रयोग गरेर घर बनाएको आरोप सार्वजनिक भएको छ। 

बैतडीमा रास्वपाका जिल्ला सभापति भीम नाथले गोकुलेश्वर चौलानी नदी आसपासको सार्वजनिक क्षेत्र अतिक्रमण गरेर घर बनाएका छन् ।

बालेन सरकारकै पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेस’काे पोखरा महानगरपालिका-१४ मझेरीपाटन क्षेत्रमा रहेको घर पनि सार्वजनिक जग्गामा रहेकाे खुलेकाे छ ।  

बाँके-१ का सांसद सुरेशकुमार चौधरीले कोहलपुर नगरपालिका–२ सिमलघारीमा सरकारी जग्गा उपयोग गरेर दुईतले घर निर्माण गरेको आरोप छ। 

कैलाली क्षेत्र नम्बर-३ का सांसद जगतप्रसाद जोशीले घोडाघोडी नगरपालिका-१० घुम्निभाकल क्षेत्रमा करिब एक बिघा सरकारी जग्गा उपयोग गर्दै खेतीपाती र आवास निर्माण गरेको चर्चा छ।

त्यस्तै, मकवानपुर-२ का सांसद प्रशान्त उप्रेतीको नाम पनि सरकारी जग्गामा बनेको घरसँग जोडिएको छ। 

रास्वपाका अर्का प्रभावशाली सांसद सागर ढकाल पनि सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाउने सूचीमा जोडिएका छन् । बुटवल-८ मा पर्ने सुखौरा खोला अतिक्रमण गरेर निर्माण भएका संरचनाबारे स्थानीयस्तरमा लामो समयदेखि गुनासो उठ्दै आएको छ। सोही क्षेत्रमा रास्वपाका नेता सागर ढकालका परिवारसँग सम्बन्धित घरबारे समेत प्रश्न उठाइएको छ।

अरु पनि देशैभर थुप्रै नेता तथा कार्यकर्ताका यस्ता घर छन्, जसको जग्गाधनी प्रमाणपत्र छैन। अथवा अव्यवस्थित बसोबासीका रुपमा बसोबास गरिरहेका छन्। तर राज्यले गरिब र कमजोर समुदायमाथि मात्र कठोरता देखायो। राज्य त्यसैको हुनुपर्थ्यो जो सबैभन्दा गरिब र कमजोर छ । 

सार्वजनिक जग्गाको संरक्षण निश्चय नै आवश्यक विषय हो। नदी, खोला, सडक किनार तथा खुला क्षेत्र जोगाउनु राज्यको दायित्व हो। तर त्यसको कार्यान्वयन समान र निष्पक्ष हुनुपर्छ। एउटै कानुन गरिबका लागि कडा र शक्तिशालीका लागि लचिलो बन्न थाल्यो भने राज्यप्रतिको विश्वास कमजोर हुँदै जान्छ।

सुकुमवासी समस्या केवल डोजरले समाधान हुने विषय होइन। यसको स्थायी समाधानका लागि वैज्ञानिक भूमि सुधार, व्यवस्थित आवास योजना, रोजगारी सिर्जना र सामाजिक सुरक्षा आवश्यक हुन्छ। अन्यथा डोजरले घर भत्किए पनि समस्या भने उस्तै रहनेछ।

गैँडाको खागसहित तीन जना पक्राउ

काठमाडौं। काठमाडौंको दरबारमार्ग क्षेत्रबाट गैँडाको खागसहित तीन जना व्यक्ति पक्राउ परेका छन्।

प्रहरी वृत्त दरबारमार्गको टोलीले एक रेस्टुरेन्टमा बसेर गैँडाको खागको अवैध कारोबार गर्न लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४, न्यूरोड बस्ने ५० वर्षीय सञ्जयमानसिंह श्रेष्ठ, तनहुँको ऋषिङ गाउँपालिका-१ घर भई काठमाडौं बाँसबारी बस्ने ४५ वर्षीय रामहरि गिरी र पाल्पाको माथागढी गाउँपालिका–१ घर भई रुपन्देहीको सिद्धार्थनगर–७ बस्ने ६० वर्षीय रामेश्वर पल्थी रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट गैँडाको खागसमेत बरामद गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

मध्यपूर्व युद्धबीच आसियान शिखर सम्मेलन सेबुमा सुरु

एजेन्सी। दक्षिण–पूर्व एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को शिखर सम्मेलन फिलिपिन्सको सेबु शहरमा सुरु भएको छ। यस सम्मेलनमा क्षेत्रीय नेताहरू मुख्य रूपमा मध्यपूर्वमा जारी युद्धका कारण उत्पन्न आर्थिक प्रभावबारे छलफल गर्न भेला भएका छन्।

इजरायल र इरानबीच बढ्दो सैन्य तनावले विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध ल्याएको छ। यसको प्रत्यक्ष असर तेल आपूर्ति, खाद्य मूल्य र व्यापारिक ढुवानीमा परेको बताइएको छ। यसले दक्षिण–पूर्व एसियाली क्षेत्रमा इन्धन अभाव, महँगी र आर्थिक अस्थिरता बढाएको छ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले यस सम्मेलनलाई “सीमित र व्यावहारिक एजेन्डा” भएको बताएका छन्। उनका अनुसार अहिलेको प्रमुख आवश्यकता क्षेत्रीय देशहरूबीच सहकार्य बढाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्नु हो। तर आसियानसँग आपतकालीन अवस्थामा तत्काल प्रयोग गर्न सकिने बाध्यकारी ऊर्जा सहकार्य प्रणाली नभएकाले ठोस निर्णय लिन चुनौती देखिएको छ।

यसैबीच, म्यानमारको राजनीतिक संकट पनि छलफलको विषय बनेको छ। सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि म्यानमार गृहयुद्धमा फसेको छ। त्यसपछि देशलाई आसियानका उच्चस्तरीय बैठकहरूबाट आंशिक रूपमा अलग राखिएको छ। केही सदस्य राष्ट्रहरूले म्यानमारसँग संवाद र क्रमिक सम्बन्ध सुधारको पक्षमा धारणा राखेका छन् भने अन्यले लोकतान्त्रिक सुधार बिना पुनःसम्बन्ध सम्भव नहुने अडान लिएका छन्।

त्यसैगरी, दक्षिण चीन सागरको विवाद पनि सम्मेलनको प्रमुख एजेन्डामध्ये एक बनेको छ। ब्रुनाइ, मलेसिया, फिलिपिन्स र भियतनामले उक्त क्षेत्रमा आंशिक दाबी गर्दै आएका छन् भने चीनले लगभग सम्पूर्ण क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ। दुई दशकभन्दा बढी समयदेखि वार्ता जारी रहे पनि अझै बाध्यकारी आचारसंहिता तयार हुन सकेको छैन, जसले क्षेत्रीय तनाव बढाइरहेको छ।

विश्लेषकहरूका अनुसार आसियान शिखर सम्मेलनमा यी सबै मुद्दा उठे पनि तत्काल ठोस र बाध्यकारी निर्णय आउने सम्भावना कमजोर देखिएको छ।

च्यासलस्थित एमाले मुख्यालय खाली गर्न मन्त्रालयको निर्देशन(भिडियो)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको भवन खाली गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले निर्देशन दिएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानभित्र रहेको पार्टी कार्यालय भोगाधिकारको जग्गा लिज प्रक्रियामा नपरेको भन्दै मन्त्रालयले तत्काल खाली गर्न सूचना जारी गरेको हो।

मन्त्रालयका अनुसार उक्त जग्गाको स्वामित्व र उपयोग सम्बन्धी प्रक्रिया कानुनी रूपमा टुंगोमा नपुगेकाले हाल प्रयोग भइरहेको संरचना नियमअनुसार व्यवस्थापन गर्नुपर्ने अवस्था आएको जनाएको छ। सरकारी अभिलेखअनुसार भोगचलनमा रहेको जग्गा औपचारिक लिज सम्झौतामा रूपान्तरण नभएको भन्दै मन्त्रालयले आवश्यक निर्णय अघि बढाएको बताइएको छ।

च्यासलस्थित भवन लामो समयदेखि एमालेको केन्द्रीय गतिविधिको केन्द्रका रूपमा प्रयोग हुँदै आएको छ। पार्टीका विभिन्न बैठक, प्रशिक्षण तथा राजनीतिक कार्यक्रमहरू सोही भवनबाट सञ्चालन हुँदै आएका छन्। मन्त्रालयको पछिल्लो निर्देशनपछि अब एमालेले कार्यालय व्यवस्थापनबारे के निर्णय लिन्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोको रूपमा हेरिएको छ।

प्रधानमन्त्री बालेन वरियता र परम्परा मिचेर नियुक्त गर्दै प्रधानन्यायाधीश ! (भिडियो)

काठमाडौं । प्रधानमन्त्री बालेनले वरियता मिचेर प्रधानन्यायाधीश नियुक्त गर्न लागेका छन् । स्रोतको दाबीमा उनले छैटौँ वरियताका न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्दैछन् ।

विगतमा वरियता मिचेर नियुक्त गर्दा सरकारको चर्को आलोचना हुन्थ्यो । तर, यसपटक प्रधानमन्त्री बालेन वरिष्ठतम् न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गर्ने परम्परा तोड्न उद्धत रहेको बताइएको छ ।

यदि, परम्परा तोडिएन भने प्रधानन्यायाधीश हुने भनेको सपना प्रधान मल्ल हुन् । जो हाल कायममुकायम प्रधानन्यायाधीश पनि हुन् । उनी प्रधानन्यायाधीश नियुक्त भए नेपालको न्यायिक इतिहासमा सुशीला कार्कीपछिको दोस्रो महिला प्रधानन्यायाधीश हुनेछन् ।

तर, प्रधानमन्त्री बालेनले छैटौँ वरियताको न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश बनाउन रुचि देखाएको न्यायिकवृत्तमा चर्चा छ । नेपालको इतिहासमा राणाशासन ढलेपछि एकपटक प्रधानन्यायाधीश नियुक्तिमा २००७ सालमा वरियता मिचिएको छ ।

त्यसपछिका ७५ वर्षमा कहिल्यै वरियता मिचिएको छैन । यद्यपि, प्रधानमन्त्री बालेनले वरियता मिच्ने र परम्परा तोड्न तोड्न लागेका छन् ।

त्यसकै लागि उनले प्रधानन्यायाधीश नियुक्तिमा सहज होस् भनेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा विपक्षीलाई पाखा लगाउनेगरी संशोधन गरेका छन्, जहाँ परिषद्को ६ सदस्यमध्ये चार जनाको संख्यालाई गणपुरक मान्ने र ३ जनालाई बहुमत मान्ने प्रावधान राखिएको छ ।

तीन जना प्रधानमन्त्री बालेन, सभामुख डिपी अर्याल र कानुनमन्त्री सोविता गौतम भए पुग्छ । प्रमुख विपक्षी नेता भीष्मराज आङ्देम्बे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर नभए पनि हुने भएको छ ।

त्यही भएर प्रधानमन्त्री बालेनले परम्परा र वरिष्ठता मिचेर प्रधानन्यायाधीश नियुक्त गर्न लागेका हुन् । बालेनको यस्तो कदमको विपक्षी दलहरूले विरोध गरिरहेका छन् ।

एमाले अध्यक्ष ओलीले फिर्ता गरे गाडी

काठमाडौं। नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधाबापत लिएको सरकारी गाडी सरकारलाई फिर्ता गरेका छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार ओलीले बुधबार उक्त गाडी सरकारलाई औपचारिक रूपमा फिर्ता गरेका हुन्।

दोहोरो सुविधा अन्तर्गत प्रयोगमा रहेको उक्त गाडी फिर्ता गरिएको कार्यालयले जनाएको छ।

सरकारी सुविधाको दुरुपयोग र दोहोरो सुविधा सम्बन्धी विषयमा चर्चा भइरहेका बेला पूर्वप्रधानमन्त्री ओलीले गाडी फिर्ता गरेका हुन्।

नेपालमा विषालु सर्प : कसरी बच्ने ?

काठमाडौं। संसारभर करिब ३ हजार ९०० भन्दा बढी प्रजातिका सर्प पाइन्छन्। तीमध्ये करिब ६०० प्रजाति विषालु मानिन्छन्, जुन कुल सर्पको करिब १५ देखि २० प्रतिशत हो। तर यी विषालु सर्पहरूमध्ये पनि करिब २०० प्रजातिले मात्र मानिसलाई गम्भीर खतरा पुर्‍याउन सक्छन्। बाँकी अधिकांश सर्पहरू विषालु हुँदैनन् र मानिसलाई कुनै हानि गर्दैनन्।

नेपालमा करिब ८९ प्रजातिका सर्प पाइन्छन्। जसमा करिब १७ देखि २२ प्रजाति विषालु रहेका छन्। सर्पदंश न्यूनीकरण र सर्प संरक्षणमा कार्यरत विज्ञ कमल देवकोटाका अनुसार सर्प मानिसको शत्रु होइन।  बरु प्रकृतिको सन्तुलनका लागि आवश्यक प्राणी हो। उनी भन्छन्, ‘सर्पको आहार मानिस होइन। उसले खतरा महसुस गरे मात्र टोक्छ।’

नेपालमा पाइने विषालु सर्पमध्ये गोमन (कोब्रा), करेत, भाइपर र राजगोमन प्रमुख मानिन्छन्। गोमन सर्प प्रायः तराई क्षेत्रमा बढी पाइन्छ भने चन्द्रनागजस्ता प्रजाति पहाडी क्षेत्रमा पनि भेटिन्छन्। करेत सर्प राति सक्रिय हुने र प्रायः घरभित्र समेत पस्ने स्वभावका कारण बढी खतरनाक मानिन्छ। भाइपर समूहका सर्प तराईदेखि पहाडी क्षेत्रमा पाइन्छन्, जसमा रसेल्स भाइपर र हरियो पिट भाइपर प्रमुख हुन्। यस्तै, राजगोमन संसारकै सबैभन्दा लामो विषालु सर्प हो, जुन नेपालका तराईदेखि पहाडी क्षेत्रसम्म पाइन्छ।

सर्पहरू तराई, पहाड र हिमाल तीनै क्षेत्रमा पाइने भए पनि तराईमा गोमन, करेत र बाघे सर्प बढी देखिन्छन् भने पहाडी क्षेत्रमा चन्द्रनाग र हरियो सर्प बढी पाइन्छन्। विज्ञहरूका अनुसार सर्प पहिलेबाटै यी क्षेत्रमा थिए, तर अहिले उद्धार कार्य र सामाजिक सञ्जालका कारण बढी देखिएको मात्र हो।

सर्पले मानिसलाई आक्रमण गर्ने स्वभाव राख्दैन। उसले आफूलाई खतरा महसुस गरेपछि मात्र टोक्ने गर्छ। मानिसले कुल्चिँदा, छुँदा वा समात्ने प्रयास गर्दा सर्पले आत्मरक्षाका लागि टोक्ने गर्छ। धेरैजसो अवस्थामा सर्प मानिस देखेपछि भाग्ने प्रयास गर्छ।

घरआँगन वा खेतबारीमा सर्प देखिएमा मार्नु हुँदैन भन्ने विज्ञहरूको सुझाव छ। सर्पले मुसा, कीरा र अन्य हानिकारक जीव खाएर पर्यावरणीय सन्तुलन कायम राख्न मद्दत गर्छ। त्यसैले सर्प देखिए शान्त रहनु, टाढैबाट हेर्नु र स्थानीय सर्प उद्धार टोली वा सम्बन्धित निकायलाई खबर गर्नु उपयुक्त हुन्छ।

सर्पदंशबाट बच्नका लागि सावधानी अपनाउनु अत्यन्त आवश्यक हुन्छ। झाडी, घाँस, ढुंगाको काप, काठको थुप्रो र अँध्यारो ठाउँहरू सर्पको सम्भावित बासस्थान भएकाले त्यस्ता स्थानमा सावधानीपूर्वक हिँड्नुपर्छ। खेतबारी वा जंगल जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु उपयुक्त हुन्छ। जुत्ता लगाउनुअघि भित्र सर्प छ कि छैन जाँच गर्नु आवश्यक हुन्छ।

रातिको समयमा सर्प बढी सक्रिय हुने भएकाले टर्च लाइटको प्रयोग गरी हिँड्नुपर्छ। घर वरपर सफा राख्ने, झाडी र फोहोर हटाउने तथा जमिनका प्वाल पुर्ने जस्ता उपायहरूले पनि सर्पको जोखिम कम गर्न सकिन्छ। सर्पलाई नछुने, नजिस्काउने र मरेको जस्तो देखिए पनि नचलाउने सावधानी अपनाउनुपर्छ।

सर्पले टोकेमा सबैभन्दा पहिले आत्तिनु हुँदैन। टोकिएको भाग कम चलाउनु, हल्का कपडाले बाँध्नु र तुरुन्त नजिकैको अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्‍याउनु आवश्यक हुन्छ। सकेसम्म सर्पको फोटो खिचेर उपचारमा सहयोग पुर्‍याउन सकिन्छ। सर्पदंशको अवस्थामा झारपात लगाउने, घाउ काट्ने वा मुखले विष चुस्ने जस्ता परम्परागत तरिका अपनाउनु अत्यन्त खतरनाक मानिन्छ।

विज्ञहरूका अनुसार सर्पदंशको उपचारमा एन्टिभेनम नै मुख्य उपाय हो, त्यसैले समयमै अस्पताल पुग्नु जीवन बचाउने सबैभन्दा महत्वपूर्ण कदम हो। सही जानकारी, सचेतना र सावधानी अपनाउन सके सर्पदंशका धेरैजसो घटना रोक्न सकिन्छ।

सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु, संसदमा डिजिटल हाजिरी

काठमाडौं। संघीय संसदका सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सुरु गरिएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने उद्देश्यसहित यो प्रक्रिया बिहीबारदेखि सुरु गरिएको हो।

संघीय संसद सचिवालयका अनुसार विभिन्न संसदीय समितिमा रहेका सांसदहरूको विवरण चरणबद्ध रूपमा संकलन भइरहेको छ।

यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र अर्थ समिति, साथै विधायन व्यवस्थापन समितिका सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य पूरा भइसकेको छ।

हाल उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति र कानुन, न्याय तथा मानव अधिकार समितिका सांसदहरूको विवरण संकलन कार्य भइरहेको सचिवालयले जनाएको छ।

शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूको विवरण संकलन गरिनेछ।

त्यस्तै, वैशाख २८ गते सोमबार सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदहरूको बायोमेट्रिक विवरण संकलन गर्ने कार्यक्रम तय गरिएको छ।

संसद सचिवालयका अनुसार यो प्रणाली लागू भएपछि सांसदहरूको उपस्थितिको निगरानी अझ प्रभावकारी र पारदर्शी हुने अपेक्षा गरिएको छ।

कीर्तिपुरमा विपीनको हत्या, आरोपित अझै फरार

काठमाडौं। कीर्तिपुर नगरपालिका–१०, बोडेटोलमा बस्दै आएका विपीन घिमिरेको बुधबार दिउँसो भएको हत्यामा संलग्न आरोपितहरू अझै पक्राउ परेका छैनन्।

प्रहरीका अनुसार हत्यामा संलग्न दुईजनाको पहिचान भइसके पनि उनीहरू फरार छन्। जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले घटनामा संलग्न दुई युवाको पहिचान भए पनि पक्राउ गर्न बाँकी रहेको जानकारी दिएका छन्।

प्रहरीले घटनाबारे जानकारी रहेको आरोपमा तीनजनालाई भने बुधबार नै नियन्त्रणमा लिएको छ। तीमध्ये एकजनाको भूमिका शंकास्पद देखिए पनि अन्य दुईजना घटनामा प्रत्यक्ष संलग्न नभएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा विपीनमाथि चक्कु प्रहार गर्ने व्यक्तिको पहिचान कैलालीका राज विष्टका रूपमा भएको खुलेको छ। चक्कु प्रहारपछि उनी कीर्तिपुरबाट भागेर ललितपुरको ग्वार्को क्षेत्रमा पुगेको लोकेसन ट्रेस भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न दुवै जना अझै फरार रहेकाले खोजी कार्य जारी रहेको छ।

९०० करोड घोटाला : पूर्वमन्त्री महेश पक्राउ

काठमाडौं। राजस्थान भ्रष्टाचार विरोधी ब्यूरो (एसीबी)ले बिहीबार पूर्व मन्त्री महेश जोशीलाई जल जीवन मिशन (जेजेएम) अन्तर्गत करिब ९०० करोड रुपैयाँको कथित घोटाला प्रकरणमा पक्राउ गरेको छ।

पीटीआईका अनुसार एसीबीको विशेष अनुसन्धान टोली (एसआईटी) ले उनलाई बिहीबार बिहान जयपुर रेलवे स्टेशन नजिकै सान कोलोनीस्थित निवासबाट नियन्त्रणमा लिएको हो।

यसअघि पनि महेश जोशीलाई अप्रिल २०२५ मा प्रवर्तन निर्देशनालय (ईडी) ले सोही घोटालासँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा पक्राउ गरेको थियो। त्यसपछि उनी करिब सात महिना जेलमा बसेका थिए।

पछि डिसेम्बर २०२५ मा सर्वोच्च अदालतले उनलाई जमानत दिएको थियो। हाल उनीमाथि पुनः भ्रष्टाचार अनुसन्धान अघि बढाइएको एसीबीले जनाएको छ।

को बन्दै प्रधानन्यायाधीस ?

काठमाडौं। नेपालको न्यायिक नेतृत्व फेरि एकपटक राजनीतिक, संवैधानिक र संस्थागत बहसको केन्द्रमा पुगेको छ। सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीश चयनका लागि आज बस्न लागेको संवैधानिक परिषद्को बैठक बस्दैछ।

आजको बैठकलाई संवैधानिक प्रक्रिया मात्र नभई राज्यको न्याय प्रणालीको आगामी दिशा निर्धारण गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

गत चैत १७ गते तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाशमा गएपछि सर्वोच्च अदालत नेतृत्वविहीन जस्तै अवस्थामा पुगेको छ। त्यसयता वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी छन्।

तर एक महिनाभन्दा बढी समय बितिसक्दा पनि स्थायी नियुक्ति हुन नसक्दा सार्वजानिक वृत्तमा अन्योल, चासो र राजनीतिक प्रभावबारे बहस तीव्र बनेको छ।

किन ढिला भयो नियुक्ति प्रक्रिया ?

नेपालको संविधानअनुसार प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया स्पष्ट छ। न्यायपरिषद्ले योग्य न्यायाधीशहरूको नाम सिफारिस गर्छ, संवैधानिक परिषद्ले त्यसमध्ये तीन जनाको नाम छनोट गर्छ। त्यसपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्ति गर्छन्।

तर व्यवहारमा भने प्रक्रिया राजनीतिक समीकरण, दलगत प्रभावबाट प्रभावित हुँदै आएको आरोप लाग्दै आएको छ।

यसपटक पनि त्यही परिस्थिति दोहोरिएको देखिन्छ। सरकार परिवर्तन,संवैधानिक परिषद्मा सदस्यहरूको अपूर्णता तथा अध्यादेशमार्फत गरिएका विभिन्न निर्णयका कारण परिषद्को बैठक लामो समय बस्न सकेन। फलस्वरूप सर्वोच्च अदालतले लामो समयदेखि कामु नेतृत्वमा काम गर्नुपरेको अवस्था सिर्जना भयो।

अध्यादेश विवाद र न्यायपालिकामाथि बढ्दो प्रश्न

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले हालै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि नियुक्ति प्रक्रिया झन् विवादमा परेको छ।

विपक्षी दलहरू तथा केही संविधानविद्हरूले यो अध्यादेशलाई ‘संवैधानिक संस्थामाथिको राजनीतिक नियन्त्रण बढाउने प्रयास’ का रूपमा व्याख्या गरेका छन्। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले ‘आफूअनुकूल व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने तयारी’ गरेको आरोप सार्वजनिक रूपमा लगाइसकेको छ।

सामाजिक सञ्जालमा समेत ‘रोलक्रम तोडिने हो कि ?’, ‘राजनीतिक निष्ठाका आधारमा नियुक्ति हुने हो कि ?’ भन्ने प्रश्न व्यापक रूपमा उठिरहेका छन्।

सिफारिस भएका ६ न्यायाधीश 

सपना प्रधान मल्ल

उनी नेपालको न्यायिक इतिहासमा सबैभन्दा प्रभावशाली महिला न्यायाधीशमध्ये एक मानिन्छिन्। महिला अधिकार, लैंगिक समानता, घरेलु हिंसा, मानवअधिकार र सामाजिक न्यायसँग सम्बन्धित मुद्दामा उनले स्पष्ट र प्रगतिशील दृष्टिकोण प्रस्तुत गर्दै आएकी छन्।

वरिष्ठताको आधारमा उनी सबैभन्दा अगाडि छिन्। नेपालको न्यायिक परम्परामा सामान्यतया रोलक्रम नमिचिने अभ्यास रहेकाले उनको दाबी स्वाभाविक रूपमा बलियो मानिन्छ। यदि नियुक्ति भयो भने उनी नेपालकी पहिलो पूर्णकालीन महिला प्रधानन्यायाधीश बन्ने ऐतिहासिक अवसर प्राप्त गर्नेछिन्।

कुमार रेग्मी

संवैधानिक तथा प्रशासनिक कानुनमा अनुभव भएका न्यायाधीश रेग्मी तुलनात्मक रूपमा शान्त र संस्थागत शैलीका न्यायाधीश मानिन्छन्। संवैधानिक विवादका कतिपय महत्वपूर्ण इजलासमा उनको सहभागिता रहेको छ।

यदि उनी प्रधानन्यायाधीश बने भने करिब पाँच वर्ष नेतृत्व गर्ने सम्भावना रहने भएकाले ‘दीर्घकालीन स्थिरता’ को तर्क पनि उनको पक्षमा प्रयोग भइरहेको छ।

हरि फुयाल

फौजदारी र संवैधानिक मुद्दामा कडा कानुनी व्याख्याका लागि परिचित फुयाललाई ‘सख्त न्यायाधीश’ का रूपमा चिनिन्छ। कतिपयले उनलाई न्यायिक अनुशासन कायम गर्न सक्षम व्यक्ति मान्छन् भने आलोचकहरूले अत्यधिक कठोर दृष्टिकोणले विवाद निम्त्याउन सक्ने तर्क गर्छन्।

मनोजकुमार शर्मा

न्याय प्रशासन, कानुनी सुधार र संवैधानिक बहसमा सक्रिय भूमिका खेल्दै आएका शर्मा न्यायालयभित्र सुधारवादी सोच भएका न्यायाधीशका रूपमा परिचित छन्। युवा पुस्ताका कानुन व्यवसायीहरूमाझ उनको सकारात्मक छवि रहेको बताइन्छ।

नहकुल सुवेदी

प्रशासनिक तथा सार्वजनिक सरोकारका मुद्दामा अनुभव भएका सुवेदी राजनीतिक प्रकृतिका संवेदनशील मुद्दामा बसेका इजलासका कारण पनि चर्चामा रहने गरेका छन्। उनको नामलाई केही राजनीतिक वृत्तले “सम्झौतामूलक विकल्प” का रूपमा हेर्ने गरेका छन्।

तिलप्रसाद श्रेष्ठ

दीर्घ न्यायिक अनुभव भएका श्रेष्ठ संस्थागत सुधार र न्यायिक स्थिरताका पक्षधर मानिन्छन्। तर उमेरहदका कारण उनी प्रधानन्यायाधीश बने पनि छोटो समय मात्र पदमा रहने सम्भावना छ।

प्रधानन्यायाधीश चयन किन महत्वपूर्ण ?

सर्वोच्च अदालत संविधानको अन्तिम व्याख्याता हो। संसद् विघटनदेखि नागरिक अधिकार, संवैधानिक नियुक्ति, निर्वाचन, संघीयता, अध्यादेश र सरकारका निर्णयसम्मका विषयमा अन्तिम फैसला सर्वोच्चले नै गर्छ।

यसैले प्रधानन्यायाधीशको भूमिका कानुनी मात्र नभई राजनीतिक र संवैधानिक रूपमा पनि अत्यन्त प्रभावशाली मानिन्छ।

विशेष गरी अहिलेको राजनीतिक अवस्थामा,जहाँ अध्यादेश, संवैधानिक नियुक्ति, शक्ति सन्तुलन र शासनशैलीबारे विवाद बढिरहेका छन्। नयाँ प्रधानन्यायाधीशले न्यायपालिकाको स्वतन्त्रता जोगाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्नलाई निकै गम्भीर रूपमा हेरिएको छ।

नेपालमा न्यायपालिका लामो समयदेखि राजनीतिक प्रभाव, भागबण्डा र शक्ति केन्द्रको दबाबबाट पूर्ण रूपमा मुक्त हुन नसकेको आलोचना हुँदै आएको छ। सर्वोच्च अदालतभित्रको गुटबन्दी, न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा र संवेदनशील मुद्दामा विवादास्पद फैसलाले न्यायालयको विश्वसनीयतामाथि बेला-बेलामा प्रश्न उठाउने गरेको छ।

यसपटकको प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाले न्यायपालिका वास्तवमै स्वतन्त्र संस्थाका रूपमा उभिन सक्छ कि अझै राजनीतिक प्रभावमै रहनेछ भन्ने सन्देश दिने विश्लेषण भइरहेको छ।

के प्रधानमन्त्री बालेन गरिबलाई रुवाएर नेपाल हाँसेको हेर्न चाहन्छन् ? (भिडियो)

काठमाडौं । ‘नेपाल हाँसेको हेर्न’ रुचाउने प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको सपना सुकुम्बासीलाई रुवाएर पूरा हुन सक्छ ? यो प्रश्न अहिले काठमाडौंका खोला–नदी किनारबाट विस्थापित भएका हजारौँ नागरिकको पीडासँगै झन् तीव्र रूपमा उठिरहेको छ ।

चुनावताका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको पक्षमा भावनात्मक भाषण गर्ने नेताहरू अहिले सत्तामा पुगेपछि मौन देखिन थालेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी सभामै ‘यदि डोजर चल्यो भने छाती थाप्न मै आउँछु’ भनेका थिए । रास्वपाका सांसद खगेन्द्र सुनारले पनि सुकुम्बासीको पक्षमा चर्का अभिव्यक्ति दिएका थिए । तर आज त्यही राज्य संयन्त्रले हजारौँ गरिब नागरिकको उठिबास लगाइरहेको बेला उनीहरूको प्रतिवद्धता प्रश्नको घेरामा परेको छ ।

प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले सार्वजनिक जग्गा संरक्षण र नदी अतिक्रमण हटाउने नाममा धमाधम डोजर अभियान चलाइरहेको छ । सरकारी तथ्यांकअनुसार ८ हजार ७५० भन्दा बढी भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी प्रभावित भएका छन् । तर यो अभियानले केवल टहरा भत्काएको छैन; धेरै गरिब परिवारको आश्रय, सुरक्षा र भविष्यसमेत चकनाचुर बनाइदिएको छ ।

कांग्रेस सांसद गीता गुरुङ, रास्वपा सांसदहरू राजीव खत्री र आशिका तामाङ तथा एमाले सांसद सुहाङ नेम्बाङले भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरण परिसरमा राखिएका विस्थापितहरूको अवस्थाबारे अनुगमन गरेका थिए । अनुगमनपछि सांसद गीता गुरुङले सामाजिक सञ्जालमा लेखिन्, ‘त्यहाँ पुग्दा वृद्ध आमाबुबा, दाजुभाइ, दिदीबहिनी र विशेषगरी बालबालिकाहरूको आँखामा जुन मनोवैज्ञानिक त्रास देखेँ, त्यसले मलाई भित्रैसम्म हल्लाएको छ । उहाँहरूको पीडा सुन्दा मात्रै त मन असाध्यै भारी भइरहेको छ भने पीडा भोगिरहनुभएका उहाँहरूलाई कस्तो भइरहेको होला ?’

यो टिप्पणीले अहिलेको अवस्थाको कठोर यथार्थ उजागर गर्छ ।
जब बालबालिका त्रासमा हुन्छन्, वृद्धवृद्धा कष्टकर अवस्थामा बस्न बाध्य हुन्छन्, बिरामीले उपचार पाउँदैनन् र निराशाले मानिस आत्महत्यासम्म पुग्छन्, त्यतिबेला ‘नेपाल हाँसेको’ दृश्य कसरी कल्पना गर्न सकिन्छ ?

लोकतान्त्रिक राज्यको सफलता केवल अतिक्रमण हटाउने प्रशासनिक उपलब्धिमा सीमित हुँदैन । राज्यको असली परीक्षा त्यतिबेला हुन्छ, जब सबैभन्दा कमजोर नागरिकले पनि सम्मानपूर्वक बाँच्न पाउने वातावरण पाउँछन् । विकासको नाममा गरिबलाई विस्थापित गरेर मात्रै शहर सुन्दर देखिन सक्छ, तर समाज न्यायपूर्ण बन्दैन ।

विडम्बना के छ भने, बालेन आफैंले कहिल्यै ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने चर्चित गीत गाएका थिए । त्यही गीतमार्फत उनले राज्यले नसुनेका मानिसहरूको आवाज बोल्ने छवि बनाएका थिए । तर आज प्रश्न उठिरहेको छ-बालेन सरकारमा गरिबको स्थान कहाँ छ ?

यदि राज्यले सबैभन्दा कमजोर नागरिकको आँसु देख्न छोड्छ भने “नेपाल हाँसेको” नारा केवल राजनीतिक ब्रान्डमा सीमित हुन सक्छ । किनकि गरिब रुवाएर, सुकुम्बासी विस्थापित गरेर र कमजोर नागरिकलाई असुरक्षित बनाइराखेर कुनै पनि देश साँच्चिकै हाँस्न सक्दैन ।