`

कुन-कुन बैंकले घटाए ब्याजदर ?

काठमाडौं। असार महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । जेठ महिनाको तुलनामा औसत निक्षेप ब्याजदरमा सामान्य गिरावट आएको छ ।

नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा औसत अधिकतम ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ ।

जेठ महिनामा यस्तो ब्याजदर ४.३४ प्रतिशत रहेको थियो । त्यसैगरी संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.२० प्रतिशतबाट घटेर ३.१८ प्रतिशतमा झरेको छ ।

नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले असारका लागि ब्याजदर घटाएका छन् भने बाँकी १३ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् ।

ब्याजदर घटाउने बैंकहरूमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक र एनएमबी बैंक रहेका छन् ।

पछिल्लो समय बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहनु, कर्जाको माग अपेक्षाकृत कमजोर हुनु तथा निक्षेप संकलनमा दबाब नहुनुले बैंकहरूलाई ब्याजदर घटाउन सहज भएको विश्लेषण गरिएको छ ।

असार महिनाको नयाँ ब्याजदर सार्वजनिक भएसँगै अब कुन बैंकले निक्षेपकर्तालाई कति प्रतिफल दिने भन्ने विषयमा सर्वसाधारणको चासो केन्द्रित भएको छ ।

बैंकहरूले सार्वजनिक गरेका दरअनुसार मुद्दती निक्षेपमा ब्याजदर अझै एकल अंकमै सीमित रहेको छ ।

कतार र स्विट्जरल्यान्डबीचको खेल बराबरीमा

काठमाडाैं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा कतारले अन्तिम क्षणमा गोल गर्दै स्विट्जरल्यान्डसँग १–१ को बराबरी निकालेको छ। यस नतिजासँगै कतारले विश्वकप इतिहासमा पहिलो पटक अंक जोड्न सफल भएको छ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार सम्पन्न खेलमा स्विट्जरल्यान्ड जिततर्फ अग्रसर देखिएको थियो। तर इन्जुरी समयको चौथो मिनेटमा बुआलेम खौखीले होमाम एल अमिनको उत्कृष्ट क्रसलाई हेडमार्फत जाली चुमाउँदै कतारलाई महत्वपूर्ण बराबरी दिलाए।

बराबरी गोलसँगै कतारी खेलाडी र समर्थकहरू उत्साहित बने भने प्रशिक्षक जुलेन लोपेटेगुईको टोलीले ऐतिहासिक उपलब्धिको खुसी मनायो।

खेलको सुरुआती समयदेखि नै स्विट्जरल्यान्डले दबाब कायम राखेको थियो। पहिलो हाफको १७औँ मिनेटमा ब्रिल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। रेमो फ्रुयलर कतारी गोलरक्षक महमुद अबुनादासँगको चुनौतीमा लड्न पुगेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

यद्यपि उक्त निर्णयलाई लिएर विवाद पनि उत्पन्न भयो। टेलिभिजन रिप्लेमा फ्रुयलर पेनाल्टीको अवस्थाअघि अफसाइडमा रहेको देखिएपछि निर्णयमाथि प्रश्न उठाइएको थियो।

सन् २०२२ को विश्वकपमा आयोजक राष्ट्रका रूपमा सहभागिता जनाएको कतारले आफ्ना सबै खेल गुमाएको थियो। तर यसपटक उसले विश्वकप इतिहासमै पहिलो अंक सुरक्षित गर्दै नयाँ अध्याय लेख्न सफल भएको छ।

स्विट्जरल्यान्डले भने खेलभरि सिर्जना गरेका अवसरहरूको पूरा लाभ उठाउन सकेन। डान एन्डोये, रुबिन भार्गास र ब्रिल एम्बोलोले पाएका केही उत्कृष्ट अवसर गोलमा परिणत हुन नसक्दा टोलीले तीन अंक गुमाउन पुग्यो।

खेलको अन्त्यतिर स्विट्जरल्यान्डले लय गुमाएको फाइदा उठाउँदै कतारले लगातार दबाब सिर्जना गर्‍यो र अन्ततः इन्जुरी समयमा बराबरी गोल निकाल्दै एक महत्वपूर्ण अंक आफ्नो पक्षमा पार्न सफल भयो।

अब स्विट्जरल्यान्डले जुन १८ मा बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध दोस्रो समूह खेल खेल्नेछ भने कतारले सोही दिन सह–आयोजक क्यानडासँग भ्यानकुभरमा प्रतिस्पर्धा गर्नेछ।

यसअघि समूहका अर्को खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले पनि १–१ को बराबरी खेलेका थिए। त्यसैले समूह ‘बी’ का चारै टोली समान एक–एक अंकमा रहेकाले नकआउट चरणको दौड थप रोमाञ्चक बनेको छ।

 

३६ वर्षपपछि विश्वकपमा जित्यो स्कटल्याण्ड

एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा स्कटल्यान्डले हैटीलाई १–० ले पराजित गर्दै विश्वकपमा ३६ वर्षयताको प्रतीक्षित जित हासिल गरेको छ।

बोस्टन स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा जोन म्याकगिनले गरेको एकमात्र गोल नै निर्णायक बन्यो। उनको गोलको मद्दतमा स्कटल्यान्डले सन् १९९० यता पहिलो पटक विश्वकपमा विजयको स्वाद चाख्न सफल भयो।

पहिलो हाफको २८औँ मिनेटमा म्याकगिनको प्रहार विपक्षी खेलाडीमा ठोक्किँदै गोलपोस्टभित्र प्रवेश गरेपछि स्कटल्यान्डले अग्रता बनाएको थियो। अन्ततः त्यही गोल खेलको नतिजा तय गर्न पर्याप्त बन्यो।

खेलअघि प्रशिक्षक स्टिभ क्लार्कले रायन क्रिस्टीलाई बेन्चमा राख्दै म्याकगिनलाई सुरुआती रोजाइमा समेट्ने निर्णय निकै कठिन रहेको बताएका थिए। तर अनुभवी मिडफिल्डर म्याकगिनले निर्णायक प्रदर्शन गर्दै प्रशिक्षकको विश्वासलाई सही सावित गरे।

यद्यपि स्कटल्यान्डका लागि खेल सहज भने रहेन। बल नियन्त्रणमा अपेक्षाकृत कमजोर देखिएको टोलीमाथि हैटीले निरन्तर दबाब सिर्जना गरेको थियो। क्यारिबियन राष्ट्र हैटीले आक्रमणको अवसर खोज्दै पटक–पटक स्कटल्यान्डको रक्षापंक्तिलाई चुनौती दियो।

यस क्रममा गोलरक्षक एङ्गस गन टोलीका लागि संकटमोचक बने। उनले केही महत्वपूर्ण बचाउ गर्दै विपक्षीलाई गोल गर्नबाट रोके। पहिलो रोजाइका गोलरक्षकको जिम्मेवारी सम्हालिरहेका गनको प्रदर्शन स्कटल्यान्डको जितमा महत्वपूर्ण रह्यो।

दोस्रो हाफमा स्कटल्यान्डसँग अग्रता बढाउने अवसरहरू पनि आएका थिए। विशेषगरी म्याकगिनले खेलको अन्त्यतिर पाएको राम्रो अवसर सदुपयोग गर्न नसक्दा टोली दोस्रो गोलबाट वञ्चित रह्यो।

अर्कोतर्फ, हैटीले बराबरी गोलको खोजी अन्तिम समयसम्म जारी राख्यो। फ्रान्ट्ज्दी पिएरोटको हेड प्रहार लक्ष्यभन्दा थोरैले बाहिरिएपछि स्कटल्यान्डले राहतको सास फेरेको थियो।

यस जितसँगै स्कटल्यान्डले समूह ‘सी’ बाट नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। समूहको अर्को खेलमा ब्राजिल र मोरक्कोले १–१ को बराबरी खेलेका कारण स्कटल्यान्ड अंकतालिकाको लाभदायक अवस्थामा पुगेको छ।

अब स्कटल्यान्डले जुन १९ मा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलबाट सकारात्मक नतिजा निकाल्न सके टोलीको अन्तिम १६ मा पुग्ने सम्भावना अझ प्रबल बन्नेछ।

रास्वपा लुम्बिनी सभापतिमा शालिकराम घिमिरे

बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश समितिको सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। उनी यसअघि प्रदेश समितिको उपसभापतिको जिम्मेवारीमा रहेका थिए।

प्रदेश अधिवेशनअन्तर्गत शुक्रबार राति सम्पन्न मतदानको मतगणना शनिबार बिहान सकिएको थियो। सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भए पनि कसैले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि सर्वाधिक मत ल्याएका शालिकराम घिमिरे र गोपाल घिमिरेबीच दोस्रो चरणको मतदान हुने तयारी गरिएको थियो। तर अन्ततः सहमतिमार्फत शालिकराम सभापतिमा निर्वाचित भएका निर्वाचन समिति सदस्य गुनाराम घिमिरेले जानकारी दिए।

पहिलो चरणको मतदानमा शालिकराम घिमिरेले सर्वाधिक १९९ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत ल्याएका थिए। त्यसैगरी गणेश पौडेलले ८४, डा. राजकुमार सुवेदीले ८०, मञ्जु भुसालले ७१ तथा मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए। निर्वाचनमा कुल ५५२ मत खसेको थियो।

निर्वाचित सभापति शालिकराम घिमिरेलाई पार्टी सभापति रवि लामिछाने निकट मानिन्छ भने प्रतिस्पर्धी गोपाल घिमिरे काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) समर्थक समूहसँग निकट रहेको बताइएको छ। दुवै पक्षबाट तीन–तीन जना उम्मेदवार मैदानमा उत्रिएका थिए।

निर्वाचन परिणामले रवि पक्षको प्रभाव प्रदेश नेतृत्वमा बलियो देखिएको विश्लेषण गरिएको छ। बालेन पक्षका उम्मेदवारमध्ये गोपाल घिमिरेले तुलनात्मक रूपमा बढी मत प्राप्त गरे पनि मञ्जु भुसाल र मधुप्रसाद अर्यालले क्रमशः ७१ र १९ मत मात्र प्राप्त गरेका थिए।

 

रास्वपामा रडाको(भिडियाे)

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र लामो समयदेखि दबिएर रहेको असन्तुष्टि अब विस्तारै सार्वजनिक हुन थालेको छ। 

सांसद अमरेशकुमार सिंहले ‘हु इज असीम शाह?’ भन्दै दिएको अभिव्यक्तिलाई धेरैले सामान्य टिप्पणीका रूपमा लिए पनि त्यसले पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्व संघर्षबारे नयाँ बहस जन्माएको हो ।

संविधान संशोधनको विषयमा आयोजित कार्यक्रममा अमरेशले असीम शाहको भूमिकामाथि प्रश्न उठाए। सतहमा हेर्दा यो संविधान संशोधन प्रक्रियाको आलोचना जस्तो देखिए पनि राजनीतिक वृत्तमा यसलाई रास्वपाभित्र विकसित हुँदै गएको दुई शक्ति केन्द्रबीचको तनावको संकेतका रूपमा हेरिएको छ।

असीम शाह अहिले प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार मात्र होइनन्, संविधान संशोधन कार्यदलका संयोजक पनि हुन्। उनी सरकारको औपचारिक संरचनाभन्दा बाहिर रहेर पनि नीति निर्माण र राजनीतिक रणनीतिमा प्रभावशाली भूमिकामा रहेको बुझाइ छ।

यही कारण कतिपय नेताहरूले पार्टीभित्र निर्वाचित संरचनाभन्दा सल्लाहकार समूहको प्रभाव बढ्दै गएको गुनासो गर्दै आएका छन्। अमरेशको टिप्पणीलाई पनि यही असन्तुष्टिको अभिव्यक्ति मानिएको छ।

संविधान संशोधनजस्तो संवेदनशील राष्ट्रिय मुद्दाको नेतृत्व निर्वाचित प्रतिनिधिहरूले गर्ने कि सल्लाहकारहरूले? उनको प्रश्नको सार यत्ति बुझिन्छ।

रास्वपाभित्र अहिले दुई फरक केन्द्रबारे चर्चा हुन थालेको छ। एकातिर पार्टी सभापति रवि लामिछानेको संगठनात्मक नेतृत्व छ भने अर्कोतिर प्रधानमन्त्री वालेन्द्र शाहको सरकारी शक्ति र उनको सल्लाहकार समूह रहेको छ।

प्रधानमन्त्री बनेपछि बालेनको निर्णय प्रक्रियामा पार्टीभन्दा बाहिरका सल्लाहकारहरूको प्रभाव बढेको आरोप पार्टीभित्रै गुञ्जिन थालेको छ। असीम शाहलाई लिएर उठेको विवाद पनि यही सन्दर्भसँग जोडिएको देखिन्छ।

विशेषगरी संविधान संशोधन, भूमि व्यवस्थापन, परराष्ट्र नीति र प्रशासनिक निर्णयहरूमा प्रधानमन्त्रीको कोर टिम सक्रिय देखिँदा पार्टीका केही नेताहरू असहज भएको बताइन्छ।

पछिल्ला दुई महिनामा सरकारका निर्णयहरूले पार्टीभित्रै प्रश्न उठाएका छन्।

सुकुम्बासी बस्ती हटाउने निर्णयमा पार्टीभित्र व्यापक छलफल नभएको गुनासो केही नेताहरूले गरेका छन्। त्यस्तै प्रधानमन्त्रीको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्तिले पनि पार्टीभित्र असहजता सिर्जना गरेको बताइन्छ।

यस्ता विषयमा पार्टीको आधिकारिक धारणा अस्पष्ट रहँदा सांसद र नेताहरूले व्यक्तिगत रूपमा फरक–फरक अभिव्यक्ति दिन थालेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार एउटै पार्टीका नेताहरूले राष्ट्रिय मुद्दामा फरक धारणा राख्न थालेपछि त्यसले संगठनभित्रको असन्तुलन प्रस्ट पार्छ।

रास्वपाभित्रको मतभिन्नता सामाजिक सञ्जालसम्म पनि पुगिसकेको छ।

प्रधानमन्त्रीको बजेटपछिको ‘ढुक्क हुनुहोस्’ स्टाटसपछि नेता प्रमोद न्यौपानेले ‘यसरी चाहिँ बन्दै बन्दैन’ भन्दै कटाक्ष गरे। त्यसको जवाफ प्रधानमन्त्री निकट मानिने आसिफ शाहले दिए।

यी दुई नेताबीचको सार्वजनिक टिप्पणीलाई पार्टीभित्र देखिएको ध्रुवीकरणको झल्कोका रूपमा हेरिएको थियो।

रास्वपाको महाधिवेशन नजिकिँदै जाँदा संगठनभित्र प्रतिस्पर्धा पनि बढ्न थालेको छ।

प्रदेश र जिल्ला तहमा नेतृत्व चयनलाई लिएर विवादहरू देखिन थालेका छन्। कतिपय स्थानमा पार्टी नेतृत्वले हस्तक्षेप गरेको आरोप लागिरहेको छ भने कतिपय नेताहरूले आफूलाई पाखा लगाइएको गुनासो गरेका छन्।

यस्तो अवस्थामा अमरेश सिंहको टिप्पणीले सतहमा नदेखिएको असन्तुष्टिलाई सतहमा ल्याएका छन्। 

रास्वपाभित्र सबैभन्दा बढी चर्चा हुने विषय भनेको सभापति लामिछाने र प्रधानमन्त्री शाहबीचको सम्बन्ध हो।

दुवैले सार्वजनिक रूपमा एकअर्काको समर्थन गरिरहे पनि पछिल्ला घटनाहरूले पार्टीभित्र फरक शक्ति केन्द्र सक्रिय रहेको संकेत दिएका छन्।

लामिछानेको भारत भ्रमणदेखि संविधान संशोधनसम्मका विषयमा पार्टीभित्र एउटै धारणा नदेखिनु त्यसैको उदाहरण मानिन्छ।

‘हु इज असीम शाह?’ भन्ने प्रश्नमा असीम शाहको परिचय खोज्नेभन्दा बढी पार्टीको असन्तुष्टि छर्लंग देख्न सकिन्छ। 

यसले रास्वपाभित्र अहिले निर्णय कसले गर्छ? पार्टी चलाउने शक्ति कहाँ छ? निर्वाचित नेतृत्व बलियो छ कि सल्लाहकार समूह? भन्ने प्रश्नहरूलाई पुनः सतहमा ल्याएको छ। 

स्वयम्भूको गुम्बजबाट वर्षौंदेखि जमेको चुनाको तह हटाइँदै [फोटो-फिचर]

काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यता, संस्कृति र धार्मिक इतिहाससँग अभिन्न रूपमा जोडिएको स्वयम्भू महाचैत्य मा वर्षौंदेखि जम्दै आएको चुनाको बाक्लो तह हटाउने कार्य सुरु गरिएको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत यस ऐतिहासिक सम्पदाको पुरातात्त्विक मौलिकता जोगाउन सफाइ तथा संरक्षण अभियान अघि बढाइएको हो।

बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थास्थलका रूपमा परिचित स्वयम्भू महाचैत्यमा परम्परादेखि नै बुद्ध पूर्णिमालगायत विभिन्न धार्मिक अवसरमा श्रद्धालुहरूले सेतो चुना पोत्ने चलन छ।

धार्मिक आस्था र श्रद्धाको प्रतीक मानिने यो अभ्यासले समयक्रममा गुम्बजमा चुनाको बाक्लो तह जम्दै जाने गरेको छ। यही कारण निश्चित अन्तरालमा पुरानो तह हटाएर संरचनाको मौलिक स्वरूप संरक्षण गर्ने कार्य गरिने गरिएको छ।

यसपटक गरिएको प्राविधिक निरीक्षणमा गुम्बजमा जमेको चुनाको तह १३ देखि १५ इन्चसम्म पुगेको पाइएको छ।

संरक्षणकर्मीहरूका अनुसार यसरी अत्यधिक मात्रामा चुना थपिँदा संरचनामा अनावश्यक भार पर्ने मात्र होइन, महाचैत्यको वास्तविक गोलाइ, बनावट र ऐतिहासिक स्वरूपसमेत क्रमशः ढाकिँदै जाने जोखिम रहन्छ।

यसअघि करिब १२–१३ वर्षअघि गरिएको सफाइ अभियानका क्रममा गुम्बजमा जमेको चुनाको तह २२ देखि ३० इन्चसम्म पुगेको भेटिएको थियो। त्यसपछि पनि धार्मिक परम्परा निरन्तर जारी रहेकाले पुनः चुनाको बाक्लो तह बनेको हो।

हाल पुरातत्त्व विभागको अनुमति तथा प्राविधिक निगरानीमा स्वयम्भू व्यवस्थापन समितिका कर्मचारी, दक्ष कालिगढ र संरक्षणकर्मीहरू परिचालित छन्।

उनीहरूले मूल संरचनामा कुनै क्षति नपुग्ने गरी अत्यन्त सावधानीपूर्वक पुरानो चुना हटाउने काम गरिरहेका छन्। संरक्षण कार्यका क्रममा प्रत्येक तहलाई चरणबद्ध रूपमा हटाइँदै महाचैत्यको मौलिक संरचना सुरक्षित राख्न विशेष ध्यान दिइएको छ।

सम्बन्धित निकायका अनुसार करिब एक महिनाभित्र सफाइ तथा संरक्षण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। काम पूरा भएपछि वर्षौंदेखि चुनाले ढाकिएको महाचैत्यको वास्तविक पुरातात्त्विक स्वरूप पुनः स्पष्ट रूपमा देखिने विश्वास गरिएको छ।

स्वयम्भू महाचैत्य केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, काठमाडौं उपत्यकाको हजारौं वर्ष पुरानो इतिहास, संस्कृति र सभ्यताको महत्वपूर्ण प्रतीक पनि हो। त्यसैले यसको संरक्षणलाई सम्पदाप्रेमी, इतिहासविद्, बौद्ध भिक्षु तथा स्थानीय समुदायले विशेष महत्वका साथ हेर्ने गरेका छन्।

संरक्षणविद्हरूका अनुसार विश्व सम्पदा सूचीमा रहेका यस्ता सम्पदाहरूको मौलिक स्वरूप जोगाउनु अन्तर्राष्ट्रिय दायित्वसमेत हो। उनीहरूका अनुसार धार्मिक परम्परा र सम्पदा संरक्षणबीच सन्तुलन कायम गर्दै यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक छ।

महाचैत्यको गुम्बजबाट पुरानो चुनाको तह हटाउने यो अभियानलाई स्वयम्भूको ऐतिहासिक पहिचान, वास्तुकला र सांस्कृतिक मौलिकता जोगाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

सफाइ सम्पन्न भएपछि स्वयम्भू महाचैत्य पुनः आफ्नो प्राचीन सौन्दर्य र वास्तविक स्वरूपसहित श्रद्धालु तथा पर्यटकका सामु प्रस्तुत हुने अपेक्षा गरिएको छ।

तस्वीरहरू:

‘कालो कुनाबाट’ देश चलाउन खोज्दैछन् प्रधानमन्त्री बालेन ? (भिडियाे वार्ता)

काठमाडौं । कालो चस्मा र कालै पहिरन लगाउने प्रधानमन्त्री बालेन कुनै कालै कुनामा रहेको भन्दै कतिपयले टिप्पणी गरिरहेका छन् । यस्तो टिप्पणी गर्नेमा राजनीतिशास्त्री लोकराज बराल पनि हुन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्री बालेन मर्यादाहीन मात्रै देखिएन, अराजनीतिक पनि देखिए ।’ प्रधानमन्त्री बालेनलाई उनी राजनीतिज्ञ मान्न तयार छैनन् । एक जना चर्चित र्‍यापर मात्रै भएको बताउँछन् ।

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मामिलामा केही आशा जगाउने कामको थालनीको संकेत पाए पनि जनजीविकाको सवालमा केही पनि गर्न नसकेको भन्दै प्रधानमन्त्री बालेनको उनी आलोचना गर्छन् ।

उनले भने, ‘ अहिलेसम्म जनतालाई राहत दिने खालको जनमुखी कार्यक्रम आएको देखिएन । बजारमा महंगी बढेकै छ ।’
उनै राजनीतिशास्त्री बरालसँग गरिएको मूल अंश र पूरा भिडियो संवाद :

प्रधानमन्त्री बालेन्द्र शाहको अढाइ महिने कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

अढाई महिनामा मूल्याङ्कन गर्ने हो । त्यो आधिकारिक हुँदैन । तर, संकेतहरू प्राप्त हुन्छन् ।

संकेतहरू कस्ता देखिए ?

पहिलो, बालेन्द्र शाह राजनीतिक प्राणी होइन । उहाँ एकाएक प्रधानमन्त्री पद अफर गरेपछि चुनावको बेला राष्ट्रिय स्वतन्त्र पार्टी जोइन गर्नुभयो । अनि आउनुभयो । उहाँलाई जनताले मन पराउनुभएको थियो । उहाँलाई जिताइदिनुभयो । त्यस्तो बहुमतले । प्रधानमन्त्री त बन्नुभयो । प्रधानमन्त्री त राजनीति पनि हो । कला, कौशल हो । जनतासँग सम्पर्क गर्ने र कुरा बुझ्ने, संसद् के हो त्यो बुझ्ने, व्यवस्था के हो ? त्यो बुझ्ने छैन । मैले गर्नुपर्छ ? त्यसको छटपटि त देखिन्छ तर गर्नुपर्छ मात्रै भनेर हुँदैन । उहाँ संसदीय व्यवस्थामा हुनुहुन्छ । प्रधानमन्त्री त अभिन्न अंग हो । उहाँलाई संसदले नै बनाएको हो । उहाँ संसदप्रति नै जवाफदेही हुनुपर्छ । त्यसकारण उहाँको जुन काम शैली देखिन्छ, व्यवस्थापकीय र प्रणालीको हिसाबले धेरै कमजोर देखिन्छ ।

त्यसप्रति कुनै प्रतिबद्धता देखिँदैन । जहाँसम्म केही गरौँ, भ्रष्टाचारलाई मुक्त गरौँ, राजनीतिमा देखिएका व्यभिचारलाई हटाऔँ भन्ने चाहना देखिन्छ । हुटहुटी देखिन्छ । तर, अहिलेसम्म जनतालाई राहत दिने खालको जनमुखी कार्यक्रम आएको देखिएन । बजारमा महंगी बढेकै छ । नियन्त्रण गर्न कदम चालिएको छैन । आयोग गठन गरेर भ्रष्टाचारको फाइल खोल्ने भन्ने जुन छ, त्यो त राम्रै हो ।

संकेतहरू व्यवस्थाको हिसाबले चाहिँ राम्रो देखिएन ?

व्यवस्थाको हिसाबले चाहिँ राम्रो देखिएन ।

संसदीय प्रणाली मास्नतिर उद्धत देखिए ?

उहाँ राजनीतिक प्राणली होइन, मैले अघि नै भनेँ । उहाँ र्‍यापर हो । उहाँ बहुचर्चित भएर आउनुभयो । उहाँको पृष्ठभूमि त्यति हो । केही वर्ष काठमाडौंको मेयर हुनुभयो । अलिअलि सफासुग्गर गर्ने काम गर्नुभयो । मूलभूत रुपमा काठमाडौंको रुपान्तरण केही भएको होइन । ओखरपौवाको फोहोर फाल्ने विषयमा कुलमान घिसिङ मन्त्री हुँदा गएर मिलाएको देखिन्छ । तर, शहरका मध्यमवर्गीय मानिसहरूलाई बालेनले राम्रै गरेको भन्ने छ ।

त्यो बाहेक उहाँको राजनीतिक पृष्ठभूमि होइन । उहाँको पार्टी पनि होइन, रास्वपा । हुँदाहुँदा असार ४ गते चितवनमा सम्मेलन हुँदैछ । उहाँकै पार्टीका मान्छेहरूले भनिरहेका छन् कि उहाँ भाग लिनुहुन्न । राजनीतिक गतिविधिमा कहीँकतै भाग नलिने अनि देशको प्रधानमन्त्री राजनीतिज्ञ भएर बस्नुपर्ने, उल्टो भएन ? रास्वपा रवि लामिछानेले सिर्जना गरेको पार्टी हो । उहाँ नेता हो, सभाति हो । उहाँले त पार्टी बनाऔँ भन्नुहुन्छ ।

बालेन्द्र पनि पार्टीको वरिष्ठ नेता हुन् नि ?
वरिष्ठ नेता त बनाइदिएका हुन् नि । प्रधानमन्त्रीको पदावधि सकिएपछि उहाँ बस्नुहुन्छ कि बस्नुहुँदैन थाहा छैन । भोलि केही भयो भने राजनीतिमा लाग्नुहुन्छ कि हुँदैन ? त्यो प्रश्न छ ।

बालेन्द्र शाह आफ्नो प्रधानमन्त्रीकाल सकिएपछि राजनीतिमा सक्रिय हुन्छन् कि हुँदैनन् होला ?
प्रधानमन्त्री सकिएपछि राजनीतिमा सक्रिय हुनुहुन्छ भन्ने मलाई लाग्दैन । मेरो अन्दाज हो ।

बालेनमा राजनीतिक गुण देखिएन ?
त्यो नभएर त मैले राजनीतिज्ञ होइन भनिसकेँ । संसदमा आउने, सांसदहरूलाई भेट्ने, जनतामा जाने, पत्रकार सम्मेलन गर्ने, केही न केही सञ्चार गरिरहने हुनुपर्‍यो । नेतृत्व भएपछि त जनतासँग सम्पर्क आउनुपर्‍यो नि । उहाँ कहाँ गोप्य कुनामा बस्नुभएको छ । कालो चस्मा लगाएर, कालो लुगा लगाएर, त्यो शैली होइन । उहाँले काम गर्दै होला देशकै लागि ।

रास्वपाको पारदर्शीता एउटा एजेण्डा हो । तर, प्रधानमन्त्री बालेन संसद् नआउने, जनतासँग साक्षात्कार गर्ने उनको यो शैली कमजोरी हो ?

बालुवाटारमा के गर्दै हुनुहुन्छ ? थाहा छैन । सिंहदरबारमा के गर्दै हुनुहुन्छ ? थाहा छैन । कसैसँग भेटघाट छैन । उहाँका मन्त्रीहरूले कति भेट पाउँछन् ? थाहा छैन । सायद मन्त्रिपरिषद् बैठकको दिन भेट होला । उस्तै काम पर्‍यो भने भेट्लान । त्यो त सम्पर्कमै छैनन् नि ।

यो लोकतान्त्रिक शैली हो ?

होइन । अहिलेको व्यवस्थाले खुलापनमा विश्वास गर्छ । जनतासँग सम्पर्क गर्ने व्यवस्था हो । संसदमा आएर बोल्नुपर्ने व्यवस्था हो । संसदमा उठेको कुराप्रति जवाफदेही हुने व्यवस्था हो । उहाँ रास्वपा संसदीय दलको नेता पनि हो । देशको नेता पनि हो । त्यसले गर्दा उहाँ त जहिले पनि आउनुपर्‍यो नि ।

तर, संसदमा आउँदा बेढंगी कुरा गर्दा रहेछन् नि ?

संसदमा बेढंगी कुरा गर्दा अरुले टोकिहाल्छन् नि । जस्तो संसदमा उहाँले सीमाबारे के भन्नुभयो, अहिले टोकाइखाइरहेका छन् । त्यस्तो हुन्छ । जे होस्, राजनीतिमा यस्तो त भइहाल्छ । तर, संसद् आउनु त पर्‍यो । सम्पर्कमा बस्नु न पर्‍यो । त्यस्तो पनि प्रधानमन्त्री हुन्छ ? राष्ट्रपतिलाई निम्ता दिएर आफूले बोलाएको छ, उहाँकै भाषण पढिरहनुभएको छ, राष्ट्रपतिले । भाषण छोडेर बिचमै छाडेर हिँड्नुहुन्छ । मर्यादित व्यवहार छैन ।

राजनीतिमा खाली चुनाव जितेर म जनताको सेवा गर्छु भनेर मात्रै हुँदैन, सेवा गर्ने प्रक्रिया नि हुन्छ । अब त्यो तरिका हो ? लोकतन्त्र भनेको संस्कार हो । अलिकति तलमाथि हुँदा अमेरिकामा कति हल्ला भयो ?

प्रधानमन्त्री बालेनको यस्तो अलोकतान्त्रिक शैलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई चुनौती थपिन्छ ?

व्यवस्थालाई चुनौती दिएर केही हुँदैन । जनता सचेत भए भने भोलि चुनौती दिनेलाई तह लगाउन सक्छन् । ज्ञानेन्द्रले पनि चुनौती दिएका थिए । आखिरी टिकेन । जनबलको सामु कोही टिक्दैन । एउटा घर चलाउन पनि त्यसको तौरतरिका हुन्छ । राजनीति भनेको तौरतरिका हो । प्रक्रिया हो । लोकतन्त्र भनेको प्रक्रिया पनि हो । चुनावबाट आउँछ, सरकार चलाउँछ, हारेपछि सरकार छोड्नुपर्छ । त्यसपछि सरकार बन्नुपर्छ । त्यो सरकार व्यवस्थाप्रति उत्तरदायी हुनुपर्छ । संसदप्रति उत्तरदायी हुनुपर्छ ।

त्यसले यो लोकतन्त्र हो । अधिनायकवाद होइन । राजाको शासनमा हुकुमी शासन हुन्थ्यो । हुकुम नै कानुन हुन्थ्यो । यो त राणाशासन होइन । अझै २०१७ सालपछिको महेन्द्रको शासन पनि होइन । त्यसबेला पनि दरबारको केही कामकाजबाहेक सबै सरकारले चलाउँथ्यो । पञ्चायती व्यवस्थामा पनि प्रधानमन्त्री, मन्त्रीहरूले सरकार चलाएकै थियो त । यो गणतान्त्रिक व्यवस्था हो । लोकतन्त्रको उत्कर्ष हो । राजनीति संस्कार हो । लोकतन्त्र संस्कार सिकाउने व्यवस्था हो । उहाँले पाँच वर्ष कसरी टिकाउँछन् सत्ता ? म भन्न सक्दिनँ ।

५ वर्ष प्रधानमन्त्री भइरहन्छन् भन्ने ग्यारेन्टी गर्न सकिँदैन ?

सकिँदैन । उहाँको पार्टी नेता रवि लामिछानेसँग सम्बन्ध कस्तो हुन्छ ? हेरौँ । जहिल्यै उहाँले बिगार्ने र अरुलाई बाहिरबाट टालटुल गरेर हुँदैन । अस्ति रवि लामिछानेजी दिल्ली गरेर मिलाएर आउनुभयो, शिशिर खनालजीले उहाँको कुरा बोल्नुभयो । सँधै अर्कालाई भरिया लगाएर त हुँदैन । नेता भएपछि त आफैं बोल्नुपर्‍यो । सँधै बोल्नुपर्छ भन्ने छैन ।

अरुले जस्तो भाषण गरेर, रिबन काटेर उदघाटन गरेर जानुपर्छ भन्ने छैन । तर, बोल्नुपर्ने ठाउँ संसदमा त बोल्नुपर्‍यो नि । अस्ति प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा तीन दिनअघि प्रश्न लिएर मन्त्रालयले ठिक्क पारेको जवाफ दिँदा हुन्थ्यो । भाषणै गर्नुपर्छ भन्ने छैन । तयारी जवाफ भएको भए बीचमा अन्टसन्ट बोल्नुपर्ने थिएन ।

पूरा संवाद भिडियोमा

बालेनलाई थाहा छ १९५० को ‘सन्धि’ ?

काठमाडौं।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति अझै पनि ताजै छ।

गत जेठ १७ गते प्रधानमन्त्री शाहले दिएको उक्त अभिव्यक्तिले देशको राजनीतिक वातावरण तरंगित बनाएको हो।

उक्त भनाइलाई लिएर संसद् र सडक तातेको छ भने राजनीतिक र कुटनीतिक वृत्तबाट शाहकाे चर्काे आलाेचना भइरहेकाे छ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रिय हित र नेपालको स्थापित सीमा सम्बन्धी अडानविपरीत रहेको भन्दै विपक्षी दलहरू आन्दाेलित छन्।

तर उनको दल र सरकार बालेनको अभिव्यक्तिलाई लिएर अनेकौं ढाक छोप गर्न लिप्त छ। सत्ता पक्षले प्रधानमन्त्री शाहले संसदको रोष्टमबाट स्पष्टिकारण दिन भन्न पनि सकेका छैनन्। यसै बिषयमा प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका नेता भिष्मराज आङ्ग्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसदहरुलाई ‘मुर्दा शान्ति’को संज्ञा दिए।

र अन्य प्रतिपक्षी दलहरुले पनि सत्तापक्षको यस्तो खेलाचीँ गर्न नहुने चेतावनी दिए।

आङ्ग्देम्बेले भर्खर भारत भ्रमण सकेर रास्वपा सभापति रवि लामिछानेलाई टेलिभिजनमा बाघ झैँ गर्जने र मोदीको अघि म्याउसम्म गर्न नसकेको आरोप लगाए।

यता सत्ताधारी  रास्वपा भने सीमा विवाद जस्ताे संवेदनशिल विषयलाई सामान्यीकरण गरिरहेकाे छ। रास्वपा कार्यकर्ताहरू अझै पनि प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गरिरहेका छन् ।

के साँच्चै जान्नेलाई छान्ने भनेर सरकारमा पुगेको दल, उक्त दलका नेता र कार्यकर्ताहरूले इतिहास बिर्सेका हुन् ?  कि राष्ट्रिय अखण्डताका सम्बन्धका सम्बन्धका बिषयमा पनि एउटै मत र एउटै आवाज किन उठ्न सकेन ?  यी प्रश्नहरु निरुत्तरित नै छन्।

जान्नेलाई छान्ने र नयाँ शक्तिका रुपमा सत्तामा पुगेको दल र दलका नेताहरुले यति सामान्य ऐतिहासिक चेत पनि राख्दैनन् ? प्रश्न उठिरहेको छ। प्रधानमन्त्री बालेनको उक्त अभिव्यक्तिलाई ठिक हो भनेर भन्ने र ठिक साबित गर्न लागिपर्ने रास्वपा कार्यकर्ता तथा समर्थकले केहि ऐतिहासिक आधारभुत कुरा जान्नपर्ने हुन्छ।

यो पढ्नुभयो ?

बालेनलाई ज्ञात छ ‘सुगौली सन्धि’ ?

नेपाल र भारतको सीमा विज्ञान के हो ? 

नेपाल र भारतबीचको सीमा सम्बन्धलाई विभिन्न सन्धि तथा सम्झौताले परिभाषित गरेका छन्। सन् १८१६ मा भएको सुगौली सन्धिले नेपालको आधुनिक सीमाको आधार तय गरेको थियो। भने सन् १८६० को नेपाल-बेलायत सन्धिमार्फत बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका ‘नयाँ मुलुक’ नेपाललाई फिर्ता गरिएको थियो।

स्वतन्त्र भारतसँग सन् १९५० मा भएको नेपाल-भारत शान्ति तथा मैत्री सन्धिले खुला सीमा र दुई देशबीचको आवागमन तथा सम्बन्धलाई व्यवस्थित गरेको छ।

यसैगरी, कोशी सम्झौता र महाकाली सन्धिले सीमा क्षेत्रमा रहेका नदी तथा जलस्रोतको उपयोग र व्यवस्थापनका विषयलाई समेटेका छन्। यी सन्धि तथा सम्झौताहरू नेपाल-भारत सीमा सम्बन्धका महत्वपूर्ण आधार मानिन्छन्।

बालेनलाई थाहा छ १९५० को ‘सन्धि’ ? 

[पूर्णपाठ]

नेपाल भारत शान्ति तथा मैत्री सन्धि
(जुलाई ३१/१९५०) 

नेपाल र भारत सरकार शताब्दियौंदेखि दुई मुलुकका बीच रहिखाएको मित्रतापूर्ण सम्बन्धप्रति रहँदै उक्त सम्बन्धलाई अरु विकसित र सुदुढ पारी दुई मुलुकको शान्तिलाई निरन्तरता दिने उद्देश्यले-

परस्पर शान्ति तथा मैत्रीसन्धि गर्ने निश्चय गरी यो सन्धि गर्ने निम्नलिखित व्यक्तिहरुलाई सम्पूर्ण अधिकारसहित प्रतिनिधि नियुक्त गरिएको छ । जसमा नेपालका तर्फबाट महाराज, प्रधानमन्त्री तथा सर्वोच्च सेनापति मोहन शम्शेर जंगबहादुर राण र भारत सरकारका तर्फबाट नेपालमा भारतका महामहिम राजदूत चन्द्रेश्वरप्रसाद नारायणसिंहले एकअर्काको अधिकार पत्र जाँदा ठीक र रीतपूर्वकको ठहर्‍याइएकोले देहायकाप्रबन्धहरुलाई स्वीकारेका छन् ।

धारा-१

नेपाल भारत सरकारका बीच स्थायी शान्ति र मित्रता रहिरहनेछ । दुवै सरकार परस्परमा एक अर्काको पूर्ण प्रभुसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति सम्मान र समर्थन गर्न स्वीकार गर्दछन् ।

धारा-२

दुबै सरकार परस्परमा कायम रहेको मित्रतापूर्ण सम्बन्धमा खलल पर्न जाने सम्भावना रहने गरी कुनै छिमेकीसँग गम्भीर खटपट वा विवाद उत्पन्न भएका एक अर्कालाई जानकारी दिने प्रतिवद्ध छन् ।

धारा-३

धारा १ मा उल्लेख भएअनुसार सम्वन्ध स्थापना गर्न र त्यसलाई कायम गर्नका लागि दुबै सरकार आवश्यक कामकाजको सुसञ्चालनका लागि आवश्यक कर्मचारी र आफ्ना प्रतिनिधिहरुद्वारा एक अर्कासँग कूटनीतिक सम्बन्ध राख्न राजी छन् ।

ती प्रतिनिधिहरु र तोकिएका कर्मचारीहरुले पारस्परिक आधारमा प्रचलित व्यवस्थाअन्तर्गत अन्तर्राष्ट्रिय कानूनले प्रदान गरेका सबै कुटनीतिक विशेषधिकार र उन्मुक्तिहरुलाई उपभोग गर्नेछन् । यी अधिकारहरु दुबैमध्ये एक मुलुकको कूटनीतिक सम्बन्ध भएको कुनै अर्को मुलुकका समानस्तरका व्यक्तिहरुलाई दिइएका अधिकारभन्दा कुनै पनि हालतमा कम हुने छैनन् ।

धारा-४

दुबै सरकारहरु एक अर्को मुलुकका तोकिएका शहर, बन्दरगाह र अन्य स्थानहरुमा बस्ने महावाणिज्यदूत, वाणिज्यदूत, उपवाणिज्यदूत र वाणिज्य प्रतिनिधिहरु नियुक्त गर्न मञ्जुर छन् ।

महावाणिज्य दूत, उपवाणिज्यदूत र वाणिज्य प्रतिनिधिहरुलाई उनीहरुको पदाधिकारमा नियुक्तिको वैधानिक प्रमाणपत्र प्रदान गरिनेछ ।

ती पदाधिकारी या नियुक्तिको वैधानिक प्रमाण पत्रलाई सो प्रदान गर्ने मुलुकले आवाश्यक ठानेमा फिर्ता लिन सक्नेछ । सम्भव भएका त्यसरी फर्ता लिइनुको कारणको जनाउ दिन सकिनेछ ।

माथि उल्लेखित व्यक्तिहरुले पारस्परिक आधारमा ती सबै हक विशेषाधिकार र उन्मुक्तिहरुको उपयोग गर्नेछन्, जुन ती मुलुकका समान श्रेणीका व्यक्तिहरुलाई प्रदान गरिएको छ ।

धारा-५

नेपाल सरकारलाई आफ्नो सुरक्षाका लागि आवश्यक पर्ने हातहतियार, विष्फोटक सामाग्री या गोलीगठ्ठा, कलपूर्जा आदि स्वतन्त्रतापूर्वक भारतीय भूमिबाट र भारतीय भूमि भएर आयात गर्ने अधिकार रहनेछ । यी प्रवन्धलाई कार्यरुप दिन दुबै सरकारले परस्परमा परामर्श गरी एउटा कार्यप्रणाली तय गर्नेछन् ।

धारा-६

दुबै सरकार नेपाल र भारतबीच विद्यमान असल छिमेकीपन र मित्रताको प्रतीकस्वरुप एकले अर्को देशका नागरिकहरुलाई आफ्नो मुलुकका औद्योगिक र आर्थिक विकासका मामिलाहरुमा सहभागी हुन तथा आर्थिक विकाससँग सम्बन्धित मामिलाहरुमा दिइने सहुलियत र ठेक्का पट्टाहरुमा राष्ट्रिय व्यवहार प्रदान गर्नेछन् ।

धारा-७

नेपाल र भारत दुबै देशका सरहकारहरु समान आधारमा एक अर्को देशका नागरिकहरुलाई आ-आफ्नो भू-भागमा बसोबास तथा सम्पत्तिको भोगचलन गर्ने, उद्योग र व्यापारिक कारोवारमा भाग लिने, डुलफिर गर्ने र यस्तै प्रकारका अन्य विशेषाधिकारहरु प्रदान गर्न स्वीकृत प्रदान गर्दछन् ।

धारा-८

जहाँसम्म यहाँ उल्लेख भएका कुराहरुको सवाल छ तिनको हकमा यो सन्धिले नेपाल सरकार र भारत सरकारको तर्फबाट ब्रिटिश सरकारको बीचमा भएका सबै सन्धिहरु, संझौताहरु र प्रतिज्ञापत्रहरुलाई खारेज गरेको छ ।

धारा-९

यो सन्धि दुबै सरकारले हस्ताक्षर गरेको मितिदेखि लागू हुनेछ ।

धारा-१०

कुनै एक मुलुकले एक वर्षको सूचना दिई खारेज नगरेसम्म यो सन्धिको अस्तित्व रहिरहनेछ ।

काठमाडौंमा विसं २००७ साल साउन १६ गते तदनुसार ईश्वी संवत १९५० जुलाई महिनाको ३१ तारिखका दिन यो सन्धिको दुबै प्रतिमा हस्ताक्षर भयो ।

 हस्ताक्षर 

भारत सरकारको निमित्त   

 चन्द्रेश्वरप्रसाद नारायण सिंह 

नेपाल सरकारको निमित्त  

    मोहन सम्शेर जंगबहादुर राणा

 
            

एभेन्जर्स: एन्डगेमका दुई ‘अन्डररेटेड सीन’हरू

काठमाडाैं। एभेन्जर्स : एन्डगेम तीन घण्टे लामो महाकाव्य हो जसले इन्फिनिटी सागाको निष्कर्ष प्रस्तुत गर्दछ। यो चलचित्र अविस्मरणीय सीनहरूले भरिपूर्ण छ।

थोरले म्योनिर उठाउनु, ‘अन योर लेफ्ट,’ अन्तिम स्न्याप, र टोनीको हृदयविदारक विदाइ जस्ता क्षणहरुले चलचित्रलाई २१ औँ शताब्दीको सर्वकालीन मध्येको एक चलचित्र बनाएको छ। तर, यो चलचित्रभित्रका यी शानदार युद्ध र भावनात्मक बिदाइहरूका बीचमा, दुई शान्त र सूक्ष्म दृश्यहरू प्रायः बेवास्तामा पर्ने गरेका छन् । यी क्षणहरू यो चलचित्रका लागि भराव मात्र होइनन्, यी ती भावनात्मक जग हुन् जसले चलचित्रका ठूला क्षणहरू विशेष महत्वका साथ उठाउछ। आज हामी तीनै अन्डररेटेडहरुको कुरा गर्नेछौँ।

टोनी स्टार्कले क्याप्टेन अमेरिकाको हात मिलाउनु र नेबुला र टोनी स्टार्कले कागजको फुटबल खेल्नु एभेन्जर्स: एन्डगेमका अन्डररेटेड दृश्यहरू हुन्।

टोनीको पृथ्वीमा फर्किएपछि टोनी स्टार्क र स्टीव रोजर्सबीचको हात मिलाउने क्षण- सतही रूपमा यो सुलहको साधारण इशारा जस्तो लाग्छ। तर यसको वास्तविक महत्व बुझ्न हामीले उनीहरूको सम्बन्धको दरारको गहिराइ बुझ्नुपर्छ।

एन्डगेम भन्दा अघि टोनी र स्टीवले अन्तिम पटक आमने-सामने भेट क्याप्टेन अमेरिका: सिभिल वार मा भएको थियो। त्यो चलचित्रमा उनीहरूले झगडा मात्र गरेनन्, उनीहरूले एकअर्कालाई ध्वस्त पारे। त्यसपछि बकीले उसका आमाबुबालाई मारेको कुरा स्टिवलाई थाहा रहेछ भन्ने कुरा टोनीले थाहा पायो ।

दुःख र क्रोध एक निर्दयी, व्यक्तिगत लडाइँमा बदलियो । टोनीले स्टीवलाई भने, ‘मलाई पर्वाह छैन, उसले मेरी आमालाई मार्यो।’ लगत्तै स्टीवले आफ्नो ढाल टोनीको आर्क रियाक्टरमा हाने। उनीहरू सहपाठीको रूपमा होइन, तीव्र शत्रुको रूपमा अलग भए। यही घटनाको विकासक्रम भएर अघि बढ्दा नै एभेन्जर्स टुटेको थियो।

एन्डगेम को सुरुमा, टोनीलाई अन्तरिक्षबाट उद्धार गरेपछि उनी शारीरिक र भावनात्मक रूपमा चकनाचुर हुन्छन्। उनी स्टीवसँग मित्रको रूपमा होइन, आरोप लगाउनेको रूपमा भिड्छन्। उसले सोकोभिया सम्झौताको कुरा उठाउँछ। उसले संयन्त्र र विश्वव्यापी सुरक्षाको बारेमा बहस गर्छ। उसले स्टीवलाई भन्छ, ‘म सम्झौताको बारेमा गलत थिएँ… तर हामीलाई नियन्त्रणमा राख्नु आवश्यक थियो। जेले पनि हाम्रा दुःस्वप्नहरूलाई शान्त राख्छ।’

टोनीलाई वर्षौं अघि नै थाहा थियो एक दिन एभेन्जर्सहरू पर्याप्त टुट्दै र फुट्दै जानेछन् । स्टार्कले उनीहरूको हारको दृश्य देखेको थियो। र अब त्यो दृश्य सत्य भयो। उनीहरूले नराम्रोसँग हारे। पिटर पार्कर, उसको सरोगेट छोरा सबै एकैचोटी मरे ।

दुर्बलता र पीडाको क्षणमा टोनी बिस्तारै पीडादायी रूपमा स्टीवसँग लड्दै जान्छ। उसले आफ्नो आर्क रियाक्टर- जुन उसको मुटुमा गोलीका टुक्राहरू जानबाट रोकिरहेको थियो, त्यसलाई फुकाल्छ र स्टीवको हत्केलामा थमाइदिन्छ।

जतिबेला टोनी आफ्नो परिवारसँग शान्त जीवन बिताइरहेका हुन्छन्, त्यहीबेला स्टीव उसलाई भेट्न आउँछ। उनीहरू कुरा गर्छन्। उनीहरुबीचको झगडा सक्किएको थिएन तर कच्चा रिस भने मरिसकेको थियो । र त्यसपछि उनीहरूले हात मिलाउँछन्।

यो हात मिलाउनु नै उनीहरूको वास्तविक शान्ति स्थापनाको क्षण हो। चलचित्रमा यो एक मौन माफी दिएको दृश्यको रुपमा चित्रित हुन्छ  । यो स्टीवले टोनी डराउनु सही थियो भन्ने स्वीकारोक्ति हो, र टोनीले स्टीवले सधैं जे सही सोच्यो त्यही गर्ने गरेको स्वीकारोक्ति हो। जब उनीहरूले हात मिलाउँछन्, टोनी एउटा हतियार वा युद्धको प्रतीक सुम्पिँदैन। उसले आफ्नो मित्रता फेरि सुम्पिन्छ। उसले स्टीवलाई आफ्नो वफादारी दिन्छ। त्यो हात मिलाउनुले उनीहरूको भाइचारा पूरा गर्छ।

सायद यो शान्त क्षण नभएको भए टोनीको पछिको बलिदान- ‘आइ एम आयरन म्यान’ को त्यति महत्व नहुन पनि सक्थ्यो । तर उसले स्टीवमा भरोसा गर्दै मर्यो र त्यो भरोसा एउटा साधारण हात मिलाउदैमा पुनर्जन्म भयो। सायद यो एभेन्जर्स: एन्डगेमको एउटा अन्डररेटेड सीन हो।

कागजको फुटबल: नेबुलाको उपचार

बेनेटर जहाजमा टोनी र नेबुलाले कागजको फुटबल खेल्दै गरेको दृश्य यो चलचित्रको दोस्रो अन्डररेटेड दृश्य हुन सक्छ। अधिकांश दर्शकले यसलाई टोनीको आकर्षक व्यक्तित्व देखाउने एउटा सुन्दर अन्तरक्रिया मात्र ठान्छन्। तर नेबुलाको लागि उनको जीवनको सबैभन्दा चिकित्सकीय क्षणहरूमध्ये एक हो।

नेबुलाको धेरै जीवनको लागि उनको एक मात्र निरन्तर प्रतिद्वन्द्वी थिइन्,- उनकी आफ्नै बहिनी, गामोरा। हरेकपल्ट थेनोसले उनीहरूलाई एकअर्कासँग लड्न बाध्य तुल्याउँथ्यो। हरेक पटक, गामोरा जित्थिन्। र हरेक पटक नेबुला हार्थिन् । हरेकपल्ट  थेनोसले उनको शरीरको एउटा भाग मेसिनले बदलेर सजाय दिन्थ्यो।

नेबुलाले आफ्नै बहिनीलाई हराउन नसकेको कारणले शाब्दिक रूपमा आफ्ना अंगहरू- हात, आँखा, मस्तिष्क गुमाइन्। चलचित्रमा उनको सम्पूर्ण अस्तित्व हार र तल्लोपनाले परिभाषित छ।

एन्डगेममा भने आउँदा नेबुला एउटा अन्तरिक्ष यानमा टोनीसँग फसेकी छिन्, जो तिर्खा र भोकले मर्दैछन्। उनीहरू दुवै फरक तरिकाले टुटेका छन्। टोनी, जो सधैं मेकानिकल प्रतिभाशाली छ, नेबुलालाई एउटा साधारण मूर्खतापूर्ण खेल सिकाउँछन्, कागजको फुटबल। यसमा कुनै दाउ छैन। यसलाई हिंसा चाहिँदैन। यो केवल औंलाको एउटा फट्को मात्र हो।

त्यसपछि नेबुला जित्छिन्। उनले कागजको फुटबलमा टोनीलाई हराउँछिन्। आफ्नो क्रूर, पीडादायी इतिहासमा पहिलो पटक उनी एउटा प्रतिस्पर्धा जित्छिन्। यो मृत्युको लडाइँ होइन, यो गामोराविरुद्धको जित पनि होइन। तर उनी जित्छिन्।

कागजको फुटबल खेल जितेपछि नेबुला मुस्कुराउँछिन्। यो धेरै छोटो, अत्यन्त बेवास्ता गरिएको क्षण हो तर जब तपाईंले देख्नुहुन्छ यो सुन्दर लाग्न सक्छ । एक सेकेन्डको लागि उनी थेनोस बिर्सन्छिन्। उनी आफ्ना मेकानिकल अंगहरू बिर्सन्छिन्, उनी सबै हारहरू बिर्सन्छिन्। उनी केवल खुशी र राहत महसुस गर्छिन्।

यो दृश्यले चलचित्रको परिणतिमा व्यावहारिक प्रयोजन पनि पूरा गर्छ। जब एभेन्जर्सहरू समय यात्राको योजना बनाउँछन्, स्कट ल्याङ (एन्ट-म्यान) टोनीको काँधमा उभिएको हुन्छ। एउटा चिकनी गतिमा, टोनीले उसलाई फट्कोले उडाइदिन्छ। त्यो सटिकता सही हुन्छ। त्यो हास्यपूर्ण क्षण वास्तवमा अन्तरिक्षमा नेबुलासँग कागजको फुटबल खेलेर बिताएका घण्टाको प्रत्यक्ष परिणाम हो। र, यसलाई एभेन्जर्स: एन्डगेमको दोस्रो अन्डररेटेड सीन मान्न सकिन्छ।

एभेन्जर्स: एन्डगेम एउटा विशाल कृति हो।  किनभने यसमा कम्प्युटर ग्राफिक्स विशाल भण्डार संग्रहित गरिएको छ।

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध नेकपा माओवादीद्वारा माइतिघरमा विरोध प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को हस्तक्षेप र नेपाली भूमिमा भइरहेको भनिएको अतिक्रमणको विरोध गर्दै नेकपा माओवादीले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

‘राष्ट्रिय स्वाधीनता, सीमा सम्मान र जनअधिकारको रक्षा गरौँ’ तथा ‘सीमा हाम्रो हो, सत्ता हाम्रो हो, निर्णय हाम्रो हो’ लगायतका नारासहित माओवादी कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले सुस्तालगायत सीमावर्ती क्षेत्रमा भारतीय पक्षबाट भइरहेको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले नेपालको भूमि, राष्ट्रिय स्वाधीनता र सीमाको सुरक्षामा सरकार गम्भीर बन्नुपर्ने भन्दै सीमा समस्याबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।

माइतीघरमा आयोजित प्रदर्शनमा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रदर्शनका क्रममा उनीहरूले राष्ट्रिय हित र सार्वभौमिकताको रक्षाका लागि सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका थिए।

माओवादीले सीमा अतिक्रमण र विदेशी हस्तक्षेपका विषयमा सरकार मौन बसेको आरोप लगाउँदै राष्ट्रिय स्वाधीनताको पक्षमा थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ।

१० हजार कर्मचारी एकैपटक घर पठाउने तयारीमा सरकार (भिडियाे)

काठमाडौं । सरकारले निजामती प्रशासनमा ठूलो पुनर्संरचनाको तयारी गर्दै एकैपटक करिब १० हजार कर्मचारीलाई अवकाशमा पठाउने योजना अघि बढाएको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले तयार पारेको निजामती सेवा विधेयकको मस्यौदामा ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई विशेष व्यवस्थामार्फत अवकाश दिने प्रस्ताव गरिएको छ।

यदि प्रस्तावित व्यवस्था कानुनका रूपमा लागू भयो भने नियमित अवकाशमा जाने कर्मचारीबाहेक थप १० हजार हाराहारी कर्मचारी सेवाबाट बाहिरिनेछन्। हाल प्रत्येक वर्ष औसत २ देखि ३ हजार कर्मचारी मात्रै अनिवार्य अवकाशमा जाने गरेका छन्।

सरकारले यो कदम प्रशासनिक सुधार, मितव्ययिता र कर्मचारी संरचनालाई चुस्त बनाउने उद्देश्यसहित अघि सारेको बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गठनकै दिन सार्वजनिक गरेको ‘शासकीय सुधारका सय कार्यसूची’ अन्तर्गत निजामती सेवा विधेयकलाई उच्च प्राथमिकतामा राखिएको थियो।

विधेयकमा मुख्यसचिवको पदावधि ३ वर्षबाट २ वर्ष र सचिवको पदावधि ५ वर्षबाट ३ वर्षमा झार्ने प्रस्ताव पनि गरिएको छ। यसले हाल कार्यरत सचिवहरूमध्ये करिब ६० प्रतिशत प्रभावित हुने अनुमान छ। तत्काल कानुन लागू भए ७० सचिवमध्ये ५२ जना अवकाशमा जान सक्ने अधिकारीहरूको भनाइ छ।

हाल संघ, प्रदेश र स्थानीय तह गरी निजामती सेवामा ८५ हजारभन्दा बढी कर्मचारी कार्यरत छन्। सरकार मन्त्रालयहरूको संख्या घटाएसँगै कर्मचारी दरबन्दी पुनरावलोकन र संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण पनि गरिरहेको छ।

यद्यपि, यसअघि सार्वजनिक गरिएको प्रारम्भिक मस्यौदामा ५५ वर्षे उमेर हद वा ३० वर्षे सेवा अवधिको प्रावधान थिएन। त्यसमा भने अनिवार्य अवकाशको उमेर ५८ बाट बढाएर ६० वर्ष पुर्‍याउने प्रस्ताव गरिएको थियो। अब अन्तिम विधेयकमा कुन व्यवस्था कायम हुन्छ भन्नेमा कर्मचारी वृत्तको चासो केन्द्रित भएको छ।

विश्वकपमा एकैदिन पाँच खेल: ब्राजिल र जर्मनीको खेलमा धेरैको चासो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलहरू जारी रहँदा दोस्रो दिन पाँच रोमाञ्चक प्रतिस्पर्धा हुने भएका छन्। विभिन्न समूहका टोलीहरू पहिलो खेलबाट महत्वपूर्ण अंक बटुल्ने लक्ष्यसहित मैदानमा उत्रँदै छन्।

समूह ‘बी’ अन्तर्गत कतार र स्विट्जरल्याण्डबीच पहिलो खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ। एसियाली फुटबलको उदीयमान शक्ति कतार र युरोपेली टोली स्विट्जरल्याण्डबीचको भिडन्तलाई निकै प्रतिस्पर्धात्मक मानिएको छ।

समूह ‘सी’ मा विश्व फुटबलको महाशक्ति ब्राजिलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली समयअनुसार बिहान ३ः४५ बजे हुने खेलमा ब्राजिल जितसहित अभियान सुरु गर्ने लक्ष्यमा हुनेछ भने मोरक्को अघिल्लो विश्वकपको उत्कृष्ट प्रदर्शन दोहोर्‍याउने योजनामा छ।

सोही समूहको अर्को खेलमा हैटी र स्कटल्यान्ड आमनेसामने हुनेछन्। बिहान ६ः४५ बजे हुने उक्त खेल दुवै टोलीका लागि समूह चरणको यात्रामा महत्वपूर्ण मानिएको छ।

समूह ‘डी’ अन्तर्गत अस्ट्रेलिया र टर्किएबीच बिहान ९ः४५ बजे प्रतिस्पर्धा हुनेछ। पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय फुटबलमा सुधारिएको प्रदर्शन गरिरहेका दुवै टोली जित निकाल्दै समूहमा बलियो स्थिति बनाउन चाहन्छन्।

यस्तै, समूह ‘ई’ मा जर्मनी र कुरासाओबीच राति १०ः४५ बजे खेल हुनेछ। चार पटकको विश्व च्याम्पियन जर्मनी प्रतियोगिताको उपाधि दाबेदार टोलीमध्ये एक मानिन्छ। तुलनात्मक रूपमा कमजोर मानिएको कुरासाओ भने बलियो प्रतिद्वन्द्वीविरुद्ध आश्चर्यजनक नतिजा निकाल्ने प्रयासमा हुनेछ।

विश्वकपको सुरुआती चरणमै हुने यी खेलहरूले समूह समीकरणलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ। फुटबल समर्थकहरू विशेषगरी ब्राजिल, जर्मनी, स्विट्जरल्याण्ड र अस्ट्रेलियाको प्रदर्शनप्रति उत्साहित देखिएका छन्। दोस्रो दिनका यी पाँच खेलले प्रतियोगिताको रोमाञ्चकता अझ बढाउने विश्वास गरिएको छ।

हिरासतभित्रै थुनुवाको मृत्यु

सुर्खेत।  चोरी मुद्दामा प्रहरी हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ वर्षीय सबीर बक्सको जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहराका अनुसार, मोबाइल चोरीको मुद्दामा उनी जेठ २७ गतेदेखि प्रहरी हिरासतमा थिए। शुक्रबार हिरासतमा रहेका बेला उनको स्वास्थ्यमा अचानक समस्या आएपछि शनिबार बिहान साढे ४ बजे कर्णाली प्रादेशिक अस्पताल कालागाउँ लगिएको थियो। तर, अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका बक्समाथि प्रहरीले बुधबार म्याद थप गरी अनुसन्धान गरिरहेको थियो। मृतकको शव परीक्षणका लागि बाँकेबाट फोरेन्सिक डाक्टर आउने प्रक्रियामा रहेको र त्यसपछि मात्र थप प्रक्रिया अघि बढ्ने प्रवक्ता बोहराले जानकारी दिए। पोस्टमार्टमपछि मात्र बक्सको मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले बताएको छ।

‘आमा बाँच्नुपर्‍यो’

आमा हाँस्नुपर्‍यो मुसुक्क सहजै खोली हियो पूर्ण नै
आमा हिँड्नुपर्‍यो विकास पथमा झुल्के उषा घाम भै
आमा सिँच्नुपर्‍यो सुधा सलिलले सुक्खा र बाँझो सबै
आमा भर्नुपर्‍यो अनाज धनले रित्ता भकारी सबै ।।१।।

आमा बग्नुपर्‍यो नदी सललझैँ आफ्नै बडो वेगमा
आमा गुँज्नुपर्‍यो अनाद ध्वनिझैँ आफ्नै मिठो तालमा
आमा देख्नुपर्‍यो हरेक जनले यै देशको भूमिमा
आमा बोक्नुपर्‍यो हरेक मनुले सत्कर्मकाे काममा ।।२।।

आमा खुल्नुपर्‍यो खुलस्त जसरी सर्वत्र आकाशमा
आमा राख्नुपर्यो प्रत्येक दिलले प्रेमालु आभासमा
आमा पुग्नुपर्‍यो हिमाल शिरको सर्वोच्च त्यो ठाउँमा
आमा बोल्नुपर्यो हरेक जनले यो देशको नाउँमा ।।३।।

आमा जोड्नुपर्‍यो अखण्डित भई भूभाग सञ्जालको
आमा कोर्नुपर्‍यो सपाङ्ग तनको भूचित्र नेपालको
आमा बुझ्नुपर्‍यो अमूल्य दुधको भारा सुधा सार जो
आमा ढोग्नुपर्यो पुजेर धरणी यो सृष्टि संसारको ।।४।।

आमा भज्नुपर्‍यो विशेष धुनमा वीणा जसै गुञ्जन
आमा पोत्नुपर्‍यो हरेक घरमा यो विश्वमा चम्कन
आमा झुम्नुपर्‍यो छरेर जगमा सद्-भावको सौरभ
आमा लेख्नुपर्‍यो पढेर धरती नेपालको गौरव ।।५।।

आमा फुल्नुपर्‍यो सुगन्धित भई सिङ्गो बगैँचा बनी
आमा रोप्नुपर्‍यो हरेक मनुले सम्झेर सञ्जीवनी
आमा उठ्नुपर्‍यो सहर्ष जगमा निर्भीक चेली बनी
आमा बाँच्नुपर्‍यो निरोग तनले सम्पूर्ण पूरा जुनी ।।६।।

[छन्द: शार्दूलविक्रीडित]

के रास्वपाभित्र कमजोर हुँदैछन् बालेन ?(भिडियाे)

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ। तर, देशको सत्ता सञ्चालन गरिरहेको पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहभागी नहुने चर्चा भइरहेको छ। यसले रास्वपाभित्रको आन्तरिक शक्ति सन्तुलनमा बालेन पक्ष कमजोर हुँदै गएको संकेत पनि गर्दछ।

रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा पाएको राजकीय सम्मानले भारतले बालेनभन्दा रविलाई बढी प्राथमिकता दिएको देखाउँछ। त्यही क्रमको निरन्तरता र त्यही हिसाबमा रास्वपाको वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन पनि सम्पन्न भइरहेका छन्, जहाँ रवि पक्ष बालेन पक्षमाथि वडा तहबाटै हाबी भएको देखिन्छ।

राजनीतिक वृत्तमा चल्ने गरेको चर्चाअनुसार लामिछाने रास्वपाभित्र अहिले महाशक्तिशाली पात्र हुन्। यही कारण पनि बालेन पार्टीको संसदीय दलको बैठक, पार्टी कार्यालय र पार्टीसँग सम्बन्धित कुनै पनि कार्यक्रममा सहभागी हुँदैनन्। अझ भनौँ, विशेषतः लामिछानेको भारत भ्रमणपछि बालेन पार्टीको आन्तरिक शक्ति समीकरणमा निरन्तर कमजोर हुँदै गएका छन्।

हालै सम्पन्न रास्वपाका प्रदेश अधिवेशन र त्यहाँबाट निर्वाचित नेतृत्वलाई हेर्ने हो भने पनि त्यही कुराको पुष्टि हुन्छ। रास्वपाले देशैभर दुई तहमा सम्पन्न गरेको महाधिवेशनमा बालेन पक्षले न्यून स्थानमा मात्रै नेतृत्व पाएको छ। यही कारणले पनि बालेन आगामी रास्वपाको महाधिवेशनमा सहभागी हुन नचाहेका हुन सक्छन्।

तर, संसदीय व्यवस्थामा एउटा दलको टेको समातेर प्रधानमन्त्री बनेका उनलाई पार्टीका कार्यक्रम बहिष्कार गर्ने क्रमले कालान्तरमा गएर उनकै लागि घातक हुन सक्छ।

‘चमेली बोल्दिने कोहिछैन’ भन्दै माइतीघरमा किन उत्रिए डाक्टर ? [फोटो-फिचर]

काठमाडौं। प्रशिक्षार्थी चिकित्सकहरूको श्रम अधिकार, सेवा–सुविधा तथा कार्यस्थलको अवस्था सुधार गर्न माग गर्दै चिकित्सकहरूले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
‘जेन्जी सरकार, जेन्जी डाक्टरलाई न्याय दे’ भन्ने नारासहित भेला भएका चिकित्सकहरूले सात बुँदे माग सार्वजनिक गर्दै सरकार, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनकारीहरूले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक) को ड्युटी समय नेपाल श्रम ऐन २०७४ अनुसार प्रतिदिन अधिकतम १२ घण्टा र सातामा ७२ घण्टाभन्दा बढी हुन नहुने व्यवस्था लागू गर्न तथा सातामा एक दिन अनिवार्य बिदा सुनिश्चित गर्न माग गरेका छन्।
उनीहरूले सम्पूर्ण प्रशिक्षार्थी महिला चिकित्सकलाई कानुनबमोजिम तलबसहितको सुत्केरी बिदा उपलब्ध गराउनुपर्ने, सुत्केरी बिदापछि अध्ययन तथा प्रशिक्षणलाई निरन्तरता दिन पाउनुपर्ने तथा करार र स्थायी दुवै प्रकृतिका महिला स्वास्थ्यकर्मीलाई समान रूपमा प्रसूति बिदाको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
यस्तै, सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बढाएको तलबअनुसार आवासीय चिकित्सकलाई अधिकृत आठौं तह सरहको पारिश्रमिक उपलब्ध गराउनुपर्ने र सातामा ४८ घण्टाभन्दा बढी काम गराए श्रम ऐनअनुसार अतिरिक्त समयको भत्ता दिनुपर्ने उनीहरूको माग छ।
इन्टर्न चिकित्सकहरू स्नातक तहको अध्ययन पूरा गरी नेपाल मेडिकल काउन्सिलमा प्रोभिजनल दर्ता भएका चिकित्सक भएकाले उनीहरूलाई कम्तीमा अधिकृत छैटौं तह सरहको तलब उपलब्ध गराउनुपर्ने तथा अतिरिक्त समय काम गरेबापत भत्ता दिनुपर्ने माग पनि प्रदर्शनकारीहरूले गरेका छन्।
चिकित्सकहरूले प्रशिक्षार्थीहरूको श्रम तथा अन्य शोषणसम्बन्धी गुनासा सुन्न र अनुगमन गर्न चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलको मातहतमा अधिकारसम्पन्न समिति गठन गर्नुपर्ने तथा प्रत्येक मेडिकल कलेजमा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि विशेष समिति गठन गर्नुपर्ने बताएका छन्।
त्यसैगरी, विशेष कारणवश अध्ययन बीचमै छोड्नुपरे आवासीय चिकित्सकलाई लगाइने उच्च जरिवाना घटाउनुपर्ने, रिक्त हुने सिटलाई अर्को वर्षको भर्ना प्रक्रियामा समायोजन गर्नुपर्ने तथा एमबीबीएस/बीडीएसपछि एमडी, एमएस वा एमडीएस अध्ययनका लागि राखिएको एक वर्षे अनिवार्य कार्यअनुभवको प्रावधान खारेज गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।
प्रदर्शनमा सहभागी चिकित्सकहरूले हालको व्यवस्था नवचिकित्सकहरूका लागि अन्यायपूर्ण रहेको दाबी गर्दै श्रम अधिकार, उचित पारिश्रमिक, मानसिक स्वास्थ्य संरक्षण र अध्ययनको सहज वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने बताएका छन्।

तस्वीरहरू:

‘रवि’लाई नख्खुबाट निकाल्ने क्रममा फरार भएका ‘श्रेष्ठ’ पक्राउ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कार्यकर्ताहरूले ललितपुरको नक्खु कारागारबाट निकाल्ने क्रममा फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरी पुनः कारागार चलान गरेको छ ।

दोलखाको सैलुङ गाउँपालिका–८ का ४४ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका हुन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९ मुढे क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार श्रेष्ठ डाँका चोरी मुद्दामा पाँच वर्षको कैद सजाय भुक्तान गरिरहेका थिए । तर जेनजी आन्दोलनका क्रममा उत्पन्न अव्यवस्थाको फाइदा उठाउँदै उनी नक्खु कारागारबाट फरार भएका थिए ।

फरार सूचीमा रहेका श्रेष्ठलाई विशेष सूचनाका आधारमा खोजी गर्दै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई पुनः नक्खु कारागार चलान गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

‘रिभर्स एजिङ’ : अब बुढो हुने छैन मान्छे ?

काठमाडौं। चिकित्सा विज्ञानको सबैभन्दा महत्वाकांक्षी लक्ष्यमध्ये एक मानिएको ‘रिभर्स एजिङ’ अर्थात् बुढ्यौली प्रक्रियालाई उल्ट्याउने प्रविधिको पहिलो मानव परीक्षण सुरु भएको छ।

उमेरसँगै कोषिकामा आउने क्षतिलाई उल्ट्याउने उद्देश्यसहित विकसित इन्जेक्सन पहिलो पटक मानिसमा प्रयोग गरिएको हो।

अमेरिकाको बोस्टनस्थित बायोटेक स्टार्टअप लाइफ बायोसाइन्सेजले आफ्नो पहिलो बिरामीमा सेल्युलर रिप्रोग्रामिङमा आधारित इन्जेक्सन प्रयोग गरिएको जनाएको छ। यो परीक्षण विशेषगरी जलविन्दु (ग्लुकोमा) बाट पीडित बिरामीको आँखामा गरिएको हो।

वैज्ञानिकहरूको लक्ष्य उमेर बढेसँगै कमजोर हुँदै जाने कोषिकाहरूलाई पुनः सक्रिय र युवा अवस्थामा फर्काउनु हो। परीक्षण अन्तर्गत दिइएको इन्जेक्सनले कोषिकाको जैविक संरचना पुनः प्रोग्राम गर्ने क्षमता राख्ने दाबी गरिएको छ।

लाइफ बायोसाइन्सेजका अनुसार आगामी ६ महिनासम्म बिरामीमा यसको प्रभावकारिता र सम्भावित साइड इफेक्टबारे निरन्तर निगरानी गरिनेछ।

यो प्रविधिको प्रारम्भिक परीक्षण पहिले मुसा र बाँदरमा गरिएको थियो, जहाँ दृष्टि सुधारलगायत सकारात्मक परिणाम देखिएको बताइएको छ। त्यसपछि मात्र मानव परीक्षणमा प्रवेश गरिएको हो।

विशेषज्ञहरूका अनुसार अहिलेको चरण पूर्ण रूपमा सुरक्षितता परीक्षण (सेफ्टी ट्रायल) हो, जसमा प्रविधिले मानव शरीरमा कस्तो प्रतिक्रिया दिन्छ भन्ने अध्ययन गरिनेछ।

यो उपचारमा बिरामीको आँखामा ‘सिंगल जीन थेरापी’ इन्जेक्सन दिइएको छ। त्यसपछि विशेष प्रकारको एन्टिबायोटिक औषधि प्रयोग गरिनेछ, जसले शरीरभित्र गएर उपचारमा प्रयोग भएका तीनवटा जीनलाई सक्रिय बनाउने काम गर्छ।

यो प्रक्रियाले कोषिकालाई पुनः प्रोग्राम गर्दै जैविक रूपमा युवा अवस्थातर्फ फर्काउने वैज्ञानिकहरूको दाबी छ।

शरीरका अन्य अंगको तुलनामा आँखालाई यस परीक्षणका लागि छनोट गर्नुको मुख्य कारण यसलाई सजिलै निगरानी गर्न सकिने र साइड इफेक्टको मूल्यांकन तुलनात्मक रूपमा सुरक्षित हुने भएकाले हो।

यसले प्रारम्भिक चरणको मानव परीक्षणलाई कम जोखिमपूर्ण बनाउने अपेक्षा गरिएको छ।

यो क्षेत्रमा विश्वका ठूला लगानीकर्ताहरूको समेत ध्यान आकर्षित भएको छ। अमेजनका संस्थापक जेफ बेजोस, ओपनएआईका प्रमुख स्याम अल्टम्यान लगायतले यस प्रकारका बायोटेक परियोजनामा लगानी गरेका छन्।

साथै, एली लिली र मर्कजस्ता ठूला औषधि कम्पनीहरूले पनि एजिङ-सम्बन्धी अनुसन्धानलाई तीव्र बनाइरहेका छन्।

लाइफ बायोसाइन्सेजका प्रमुख कार्यकारी अधिकृत जेरी म्याकलिनले यो उपलब्धि आफ्नो कम्पनी मात्र नभई सम्पूर्ण चिकित्सा विज्ञानका लागि सम्भावित रूपमा ऐतिहासिक मोड भएको बताएका छन्।

उनका अनुसार यदि परीक्षण सफल भयो भने बुढ्यौली प्रक्रियालाई नियन्त्रण वा उल्ट्याउने नयाँ युग सुरु हुन सक्छ।

‘रिभर्स एजिङ’ प्रविधि सफल भएमा यसले मानव स्वास्थ्य, दीर्घायु र रोग उपचारको अवधारणालाई नै परिवर्तन गर्न सक्ने वैज्ञानिकहरूको विश्वास छ।

तर हाल यो प्रारम्भिक मानव परीक्षण चरणमै रहेकोले यसको दीर्घकालीन प्रभाव र सुरक्षा प्रमाणित हुन अझै समय लाग्ने विश्लेषण गरिएको छ।  

 

बालेनको त्यो अभिव्यक्ति…सुस्तामा हतियारसहित एसएसबीको प्रवेश(भिडियाे)

काठमाडौं। गत जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले निर्वाचनपछि प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा ‘नेपालले पनि भारतको भूमी मिचेको छ’ भन्ने अभिव्यक्ति दिए।

उनको अभिव्यक्तिले व्यापक रुपमा राजनीतिक र कुटनीतिक बहस छेडियो।

त्यसपछि संसदमा विवाद चर्किएको थियो भने विपक्षी दलहरूले उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेका थिए।

तर सरकारले भने परराष्ट्र मन्त्रालयमार्फत उक्त भनाइलाई स्पष्ट पार्दै कूटनीतिक दृष्टिले स्पष्टिकरण दियो।

तर प्रधानमन्त्री शाहले अभिव्यक्ति दिएको साँझ नै सुस्ताभारतीय एसएसबीको टोली सुस्ता गाउँपालिका-५ स्थित निर्माणस्थलमा पुग्यो। उनीहरूले तटबन्ध निर्माण रोक्न दबाब दिएपछि काम रोकियो।

उक्त घटना घटेको ११ दिन पछि सुस्ता क्षेत्रमा शुक्रबार बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गर्यो।

एसएसबी सुस्ता प्रवेश गरेपछि केही समयका लागि सुस्तामा स्थिति तनावपूर्ण बनेको थियो।

नदी तरेर हतियारसहित नेपाली भूमिमा प्रवेश गरेको एसएसबी टोलीलाई स्थानीय बासिन्दाले प्रतिकार गरेर भारतीय भूमितर्फ फर्काए।

घटनापछि स्थानीय बासिन्दा, सुरक्षा निकाय र राजनीतिक वृत्तमा समेत यसको प्रभाव देखिएको छ।

प्रधानमन्त्री शाहको अभिव्यक्ति पछि नै यसप्रकारका घटना किन घटे ? अहिले सीमा क्षेत्रमा भएको यो घटनाले पुनः नेपाल-भारत सीमा व्यवस्थापन र सुरक्षासम्बन्धी संवेदनशीलता उजागर गरेको छ।

स्थानीय स्रोतका अनुसार शुक्रवार बिहान एसएसबीको एक टोली सुस्ता नदी तरेर नेपाली भूमिमा प्रवेश गरेको थियो। गस्तीका क्रममा पानी परेका कारण बाटो भुलेर प्रवेश भएको दाबी भारतीय पक्षले गरेको बताइन्छ।

तर स्थानीय बासिन्दाले उक्त प्रवेशलाई ‘सीमा उल्लंघन’ भन्दै तत्काल विरोध जनाएका थिए। सुरुमा एसएसबी टोलीले स्थानीयको आग्रहलाई बेवास्ता गरेको र पछि अवस्था तनावपूर्ण बनेको बताइएको छ।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि स्थानीय बासिन्दा लाठा-भाटा लिएर प्रतिकारमा उत्रिएका थिए। स्थानीयको संख्या बढ्दै गएपछि एसएसबी टोली पछि हट्दै भारतीय भूमितर्फ फर्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

घटनाबारे जानकारी दिँदै पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी रामकुमार केसीले एसएसबी गस्तीका क्रममा अनायास नेपालतर्फ प्रवेश भएको बताएका छन्।

उनका अनुसार, बिहान गस्तीका क्रममा पानी परेका कारण भारतीय टोली नेपालतर्फ प्रवेश गरेको भन्ने बुझिएको छ। त्यही बेला स्थानीयले विरोध जनाएका हुन्। केही समयपछि अवस्था सामान्य भएको छ।

यसैबीच सीमा सुरक्षा हेर्ने सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)ले पनि घटनापछि भारतीय पक्षसँग छलफल भइरहेको जनाएको छ।

एपीएफका एक अधिकारीले जानकारी दिँदै भारतीय सुरक्षा बलका केही सदस्य नेपाली सीमाभित्र प्रवेश गरेको देखिएको र त्यसबारे कारण पत्ता लगाउन छलफल भइरहेको बताए।

घटनापछि केही समय सुस्ता क्षेत्रमा तनावपूर्ण वातावरण बनेको थियो। स्थानीय बासिन्दाको विरोधपछि एसएसबी टोली फर्किएपछि स्थिति सामान्य बनेको सुरक्षा स्रोतले जनाएको छ।

तर घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षासम्बन्धी संवेदनशीलता पुनः सतहमा ल्याएको छ। स्थानीयले बारम्बार हुने यस्ता घटनाले आफूहरू त्रासमा बस्न बाध्य भएको गुनासो गरेका छन्।

सुस्ताको घटनाले शुक्रवार संसदसम्म प्रभाव पारेको पर्यो। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले आकस्मिक रूपमा विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए।

नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले घटनाप्रति सरकारको भूमिका कमजोर रहेको आरोप लगाउँदै भने, सुस्तामा भारतीय सुरक्षा बल नेपाल प्रवेश गरेर ठूलो समस्या सिर्जना गरेको र स्थानीयले प्रतिकार गरेको बताए।

उनका अनुसार, सीमा सुरक्षा केवल प्रतिपक्षको विषय नभई राष्ट्रिय विषय हो र सरकार गम्भीर हुनुपर्ने आवश्यकता छ।

यस्तै, श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले पनि संसदमा प्रश्न उठाउँदै सीमा सुरक्षाबारे सरकार गम्भीर नभएको टिप्पणी गरेका छन्।

उनले सरकारको ध्यानाकर्षण गराउँदै रक्षामन्त्रीको भूमिका स्पष्ट हुनुपर्ने बताएका छन्।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले घटनापछि कूटनीतिक माध्यममार्फत समाधान खोजिने बताएका छन्।

उनले जानकारी दिँदै भने, सुस्तामा बस्ने नेपाली नागरिकहरूले पहिलेदेखि नै आफ्नो भूमिको रक्षा गर्दै आएको उल्लेख गर्दै उनीहरूलाई सम्मान गर्नुपर्ने बताए। साथै, यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने उनले बताए।

घटनासँगै राजनीतिक आरोप-प्रत्यारोप पनि तीव्र बनेको छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेनले केही दिनअघि संसदमा दिएको अभिव्यक्तिपछि सीमा क्षेत्रमा एसएसबीको गतिविधि बढेको दाबी गरेका छन्।

नेपाल-भारत सीमा निर्धारण ऐतिहासिक रूपमा सुगौली सन्धि (१८१६) र त्यसपछिका पूरक सम्झौताहरूका आधारमा भएको मानिन्छ। तर सुस्ता क्षेत्रमा नदीको धार परिवर्तन, भू-अधिकारको व्याख्या र प्रशासनिक नियन्त्रणको विषयमा विवाद रहँदै आएको छ।

नेपाल-भारतबीच करिब १,८८० किलोमिटर लामो सीमा रहेको छ। जसमा अधिकांश भाग व्यवस्थित भए पनि सुस्ता र कालापानी–लिम्पियाधुरा क्षेत्र अझै विवादित छन्।

स्तामा भएको पछिल्लो घटनाले सीमा क्षेत्रमा बारम्बार देखिने संवेदनशीलता, स्थानीय जनताको प्रत्यक्ष प्रतिकार र राज्यको कूटनीतिक चुनौतीलाई पुनः उजागर गरेको छ।

यद्यपि तत्कालका लागि स्थिति नियन्त्रणमा आएको भनिए पनि दीर्घकालीन समाधानका लागि नेपाल-भारतबीच प्रभावकारी कूटनीतिक संयन्त्र अझ मजबुत बनाउनुपर्ने आवश्यकता विश्लेषकहरूले औंल्याएका छन्।

सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर

काठमाडौं। जेनजी मुभमेन्ट नेपालले नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा गरिएको नियुक्ति सर्वोच्च अदालतले बदर गरेको घटनाप्रति प्रतिक्रिया जनाउँदै सम्बन्धित मन्त्रीलाई तत्काल बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेको छ।

शुक्रबार जारी विज्ञप्तिमा आन्दोलनले सर्वोच्च अदालतले नियुक्ति प्रक्रियालाई अपारदर्शी, त्रुटिपूर्ण तथा सुशासनको मूल्यविपरीत ठहर गरेको उल्लेख गर्दै योग्यतामा पहिलो नम्बरमा रहेका उम्मेदवारलाई नियुक्त नगरी अन्य व्यक्तिलाई नियुक्त गर्नु मेरिटोक्रेसीमाथिको खुला प्रहार भएको जनाएको छ।

विज्ञप्तिमा अदालतले नै नियुक्ति प्रक्रियामाथि गम्भीर प्रश्न उठाइसकेको अवस्थामा सम्बन्धित मन्त्री पदमा बसिरहनुको नैतिक र राजनीतिक आधार समाप्त भएको उल्लेख गरिएको छ।

जेनजी मुभमेन्टले उक्त नियुक्ति प्रक्रियामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

आन्दोलनले राज्यका निकायहरूलाई भागबण्डा, नातावाद र राजनीतिक संरक्षणवादको माध्यम बनाउने प्रवृत्तिले सुशासन कमजोर बनाउने भन्दै सार्वजनिक नियुक्तिहरू योग्यता, पारदर्शिता र प्रतिस्पर्धाका आधारमा हुनुपर्ने धारणा व्यक्त गरेको छ।

५०० मिलियन सब्सक्राइबर पार गर्ने पहिलो युट्युबर बने ‘मिस्टर बिस्ट’

काठमाडौं। अमेरिकी युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) ले युट्युबको इतिहासमै नयाँ कीर्तिमान कायम गर्दै ५० करोड (५०० मिलियन) सब्सक्राइबर पार गर्ने पहिलो क्रिएटर बनेका छन्। शुक्रबार उनले यो ऐतिहासिक आँकडा पार गर्दै विश्व डिजिटल सामग्री निर्माणको क्षेत्रमा नयाँ अध्याय लेखेका छन्।

मिस्टर बिस्ट सन् २०२२ नोभेम्बरमा सबैभन्दा धेरै सब्सक्राइबर भएका व्यक्तिगत क्रिएटर बनेका थिए। त्यसपछि सन् २०२४ जुनमा उनी युट्युबकै सबैभन्दा धेरै सब्सक्राइबर भएको च्यानलका रूपमा स्थापित भए।

उनको च्यानलले मनोरञ्जन, ठूला बजेटका प्रतियोगिता र सामाजिक अभियानहरूलाई समेट्दै विश्वव्यापी दर्शक आकर्षित गर्दै आएको छ।

उनको चर्चित भिडियो ‘स्क्विड गेम इन रियल लाइफ’ करिब १ अर्ब भ्युज पुग्न लागेको छ, जसलाई करियरको महत्वपूर्ण मोड मानिन्छ।

त्यसपछि उनले ५० जना युट्युबरबीच १० लाख अमेरिकी डलर पुरस्कार राखेर ठूला प्रतियोगिता आयोजना गर्दै युट्युब कन्टेन्टको स्तर नै परिवर्तन गरेका छन्।

५० करोड सब्सक्राइबर नजिकिँदै गर्दा उनले लाइभ स्ट्रिम गरेका थिए, जसलाई ६ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष हेरेका थिए।

सो क्रममा प्रशंसकहरूले रमाइलो गर्दै केही समयका लागि अनसब्सक्राइब गरेर फेरि सब्सक्राइब गर्ने गतिविधि गरेका थिए, जसले उक्त क्षणलाई झनै भाइरल बनायो।

भावुक बनेका मिस्टर बिस्टले आफ्नो संघर्षपूर्ण विगत सम्झिँदै सन् २००८ को आर्थिक संकटका कारण परिवारले कठिन अवस्था भोगेको बताएका थिए।

उनले ११ वर्षको उमेरमै युट्युब सुरु गरेको र त्यसपछि करिब ६० देखि ७० हजार घण्टा काम गरेको उल्लेख गरेका छन्।

मिस्टर बिस्ट केवल मनोरञ्जनमा सीमित छैनन्, उनी विश्वभरका परोपकारी अभियानका लागि पनि परिचित छन्।

#टिम ट्रिज अभियानमार्फत २५ मिलियन डलर संकलन गरी २५ मिलियन रूख रोपेका थिए।  त्यस्तै #टिम सीज अभियानमार्फत ३० मिलियन डलर संकलन गरी समुद्र र तट सफा गरे। #टिम वाटर अभियानमार्फत ११५ देशका क्रिएटरहरूको सहभागितामा ४० मिलियन डलर जुटाई स्वच्छ पानी परियोजनामा सहयोग गरे।

मिस्टर बिस्टले ५० करोड सब्सक्राइबर विशेष भिडियो छिट्टै सार्वजनिक गर्ने घोषणा गरेका छन्। साथै उनले आफ्नो चकलेट ब्रान्ड फिस्टेबल्स लगायतका परियोजनालाई अझ विस्तार गर्ने योजना पनि बताएका छन्।

सुधन-महावीर मन्त्री बन्दा झस्किएको हो रवि पक्ष ? (भिडियाे)

काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दै गृह मन्त्रालयमा पुनः सुधन गुरुङलाई नियुक्त गरे भने विज्ञान तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी स्वतन्त्र सांसद महावीर पुनलाई दिए। तर यी दुवै निर्णयले सरकारभित्र र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नयाँ बहस जन्माएको छ।

सम्पत्ति विवरण विवादपछि वैशाख ९ गते राजीनामा दिएका गुरुङमाथि छानबिन गर्न सरकारले समिति गठन गरेको थियो। पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी नेतृत्वको समितिले जेठ २३ गते प्रतिवेदन बुझाए पनि उक्त प्रतिवेदन सार्वजनिक नगरी गुरुङलाई पुनः गृहमन्त्री बनाइएको छ। यसले सुशासनको प्रतिबद्धता बोकेको सरकारमाथि प्रश्न उठाएको छ।

अर्कोतर्फ, मन्त्री बन्ने अपेक्षा नै नगरेका स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइनु पनि राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। नवप्रवर्तन क्षेत्रमा लामो समयदेखि सक्रिय पुनले यसअघि बजेटको एक प्रतिशत रकम नवप्रवर्तनका लागि छुट्याउन माग गर्दै अभियान चलाएका थिए। सरकारले उनको मागअनुसार मन्त्रालय स्थापना गरी बजेट विनियोजन गरेपछि अन्ततः उनैलाई मन्त्री बनाएको हो।

तर रास्वपाका १८२ सांसद हुँदाहुँदै स्वतन्त्र सांसदलाई मन्त्री बनाइएपछि प्रधानमन्त्री शाह र पार्टी सभापति रवि लामिछानेबीच दूरी बढेको चर्चा चुलिएको छ। यद्यपि पार्टी नेतृत्वले भने दुवै नेताको सहमतिमै पुनलाई मन्त्री बनाइएको दाबी गरेको छ।

प्रधानमन्त्री शाहले पार्टी गतिविधिमा कम सहभागिता जनाउने, संसदीय दलका बैठकमा समेत विरलै उपस्थित हुने र पार्टीभन्दा सरकारलाई प्राथमिकता दिएको आरोप खेपिरहेका छन्। संसद्मा नेपालले पनि भारतको भूमि मिचेको हुनसक्ने अभिव्यक्ति दिएपछि विपक्षीले लामो समय संसद् अवरुद्ध पारेका थिए। त्यस विषयमा स्पष्टिकरण दिन विपक्षीले बारम्बार आग्रह गरे पनि प्रधानमन्त्रीले प्रत्यक्ष जवाफ दिएका छैनन्।

यता रास्वपाभित्र पनि असन्तुष्टिका स्वर देखिन थालेका छन्। सभापति लामिछानेनिकट नेताहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् भने सांसदहरूले संसद्मै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउन थालेका छन्। कोशी प्रदेशमा हालै सम्पन्न पार्टी अधिवेशनमा पनि प्रधानमन्त्री शाहनिकट समूहको प्रभाव बढेको देखिएको छ।

यद्यपि पार्टी नेतृत्वले प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच कुनै मतभेद नरहेको दाबी गर्दै आएको छ। तर पछिल्ला नियुक्ति, संसद् व्यवस्थापन र पार्टीभित्र देखिएका प्रतिक्रियाले रास्वपाको आन्तरिक समीकरणबारे प्रश्न उठाइरहेको छ।

एक लिंक, एक क्लिक : २५ लाख गायब

काठमाडौं। मोबाइलमा आएको एउटा शङ्कास्पद सन्देशमा विश्वास गर्दा काठमाडौँका एक व्यक्तिले २५ लाख रुपैयाँभन्दा बढी रकम गुमाएका छन्। साइबर ठगीको यो घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले दुई जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सप्तरीका २० वर्षीय आकाशकुमार पासवान र सिरहाका २३ वर्षीय चन्देश्वर महतोलाई प्रतिवादी बनाएर ठगी मुद्दा दायर गरेको हो। दुवै जना हाल फरार रहेको जनाइएको छ।

प्रहरीका अनुसार उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी कसुरमा अभियोग लगाइएको छ। दोषी ठहर भएमा सात वर्षसम्म कैद, ७० हजार रुपैयाँसम्म जरिवाना तथा पीडितलाई पूर्ण क्षतिपूर्ति भराउन माग गरिएको छ। अदालतले फरार रहेका दुवै अभियुक्तलाई पक्राउ गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ।

अनुसन्धानबाट खुलेअनुसार गत जेठ २९ गते पीडितको मोबाइलमा ‘द_अलर्ट’ नामबाट एउटा एसएमएस प्राप्त भएको थियो। उक्त सन्देशमा ‘सुरक्षाका कारण कनेक्ट आईपीएस खाता रोक्का गरिएको छ’ भन्दै खाता पुनः सञ्चालन गर्न एउटा लिंकमा क्लिक गरी विवरण भर्न अनुरोध गरिएको थियो।

सन्देश आधिकारिक जस्तो देखिएकाले पीडितले उक्त लिंक खोलेर आफ्नो बैंकिङ विवरण प्रविष्ट गरेका थिए। केही समयपछि शङ्का लागेपछि प्रक्रिया बीचमै रोके पनि त्यतिबेलासम्म साइबर अपराधीहरूले आवश्यक विवरण प्राप्त गरिसकेको प्रहरीको निष्कर्ष छ।

प्रहरीका अनुसार पीडित सुतिरहेको समयमा साइबर अपराधीहरूले उनको ‘कनेक्ट आईपीएस’ प्रणालीमा अनधिकृत पहुँच बनाएर बैंक खाताबाट रकम स्थानान्तरण गरेका थिए।

सुरुमा राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकमा रहेको रकमबाट परीक्षणका लागि १०० रुपैयाँ पठाइएको थियो। त्यसपछि क्रमिक रूपमा रकम निकालेर आकाशकुमार पासवानको नेपाल एसबीआई बैंकस्थित खातामा जम्मा ११ लाख ७४ हजार १०० रुपैयाँ स्थानान्तरण गरिएको थियो।

त्यसको भोलिपल्ट जेठ ३१ गते बिहान पुनः राष्ट्रिय वाणिज्य बैंकको खाताबाट चन्देश्वर महतोको लक्ष्मी सनराइज बैंकस्थित खातामा १३ लाख ७० हजार रुपैयाँ पठाइएको अनुसन्धानबाट खुलेको छ।

यसरी दुई दिनभित्र पीडितको खाताबाट कुल २५ लाख ४४ हजार १०० रुपैयाँ गायब भएको थियो। मोबाइल हेर्दा मात्रै आफ्नो खाताबाट ठूलो रकम चोरी भएको थाहा पाएपछि उनले प्रहरीमा उजुरी दिएका थिए।

साइबर ब्युरोका अनुसार पछिल्लो समय बैंक, वालेट, कनेक्ट आईपीएस, सरकारी संस्था वा सेवा प्रदायकको नाम प्रयोग गरी नक्कली लिंक पठाउने ‘फिसिङ’ प्रकृतिका अपराध तीव्र रूपमा बढिरहेका छन्।

यस्ता सन्देशमा दिइएको लिंकमा क्लिक गरी प्रयोगकर्ताले आफ्नो प्रयोगकर्ता नाम, पासवर्ड, ओटीपी वा बैंकिङ विवरण प्रविष्ट गरेपछि अपराधीहरूले खातामा पहुँच प्राप्त गरी रकम चोरी गर्ने गरेका छन्।

साइबर ब्युरोले अपरिचित स्रोतबाट आएका लिंकमा क्लिक नगर्न, बैंकिङ विवरण कसैलाई नदिन र कुनै पनि शङ्कास्पद सन्देश प्राप्त भए सम्बन्धित बैंक वा संस्थासँग आधिकारिक माध्यमबाट पुष्टि गर्न आग्रह गरेको छ।

विशेषगरी कनेक्ट आईपीएस, बैंक, डिजिटल वालेट वा सरकारी निकायको नाममा आउने सन्देशप्रति सजग रहन र ओटीपी, पासवर्ड तथा अन्य गोप्य विवरण कसैसँग पनि साझा नगर्न प्रहरीले चेतावनी दिएको छ।

साइबर विज्ञहरूका अनुसार केही सेकेन्डको असावधानीले लाखौं रुपैयाँको क्षति हुन सक्ने भएकाले डिजिटल कारोबारमा थप सतर्कता आवश्यक रहेको छ।

संकटसँग जुध्दै क्यान्जिनको याक चिज उद्योग [फोटो-फिचर]

काठमाडौं। लाङटाङ हिमशृंखलाको फेदीमा अवस्थित क्यान्जिन गोम्पाको डीडीसी चिज कारखाना नेपालको हिमाली भेगको एक विशिष्ट पहिचान हो।

समुद्री सतहबाट करिब ३ हजार ८७० मिटरको उचाइमा सञ्चालित यो कारखाना दुग्धजन्य उत्पादन गर्ने उद्योग मात्र होइन, हिमाली जीवनशैली, स्थानीय संस्कृति र पर्वतीय अर्थतन्त्रसँग गाँसिएको जीवित सम्पदा पनि हो।

याक तथा चौँरीको दूधबाट उत्पादन हुने क्यान्जिन चिजले दशकौँदेखि स्वदेशी तथा विदेशी पर्यटकको मन जित्दै आएको छ। हिमालको काखमा उत्पादन हुने यसको स्वाद, गुणस्तर र इतिहासले यसलाई नेपालकै विशेष उत्पादनका रूपमा स्थापित गरेको छ। तर पछिल्ला वर्षहरूमा कृषक पलायन, चरन क्षेत्रको संकुचन र जलवायु परिवर्तनका प्रभावले यो उद्योग गम्भीर चुनौतीको सामना गरिरहेको छ।

सन् १९५० को दशकमा स्विस प्राविधिक सहयोगमा स्थापना गरिएको क्यान्जिन चिज उत्पादन केन्द्र नेपालमा व्यावसायिक याक चिज उत्पादनको अग्रणी परियोजनामध्ये एक मानिन्छ। दुर्गम हिमाली क्षेत्रमा उपलब्ध स्रोत र परम्परागत पशुपालनलाई आधुनिक उत्पादनसँग जोड्ने उद्देश्यले सुरु गरिएको यो परियोजना समयसँगै स्थानीय समुदायको मुख्य आयस्रोत बनेको थियो।

वर्षौँसम्म यहाँ उत्पादन भएको चिज काठमाडौंसहित देशका विभिन्न भागमा पुग्यो भने विदेशी पर्यटकहरूले पनि यसलाई विशेष हिमाली परिकारका रूपमा चिन्न थाले।

क्यान्जिन चिज कारखानाका चिज मेकर ग्याल्बो तामाङका अनुसार अहिले उत्पादनको अवस्था विगतको तुलनामा निकै कमजोर बनेको छ।

उनका अनुसार एक समय दैनिक ५०० लिटरसम्म दूध संकलन हुने कारखानामा अहिले मुस्किलले ६० देखि ७० लिटर दूध मात्रै पुग्ने गरेको छ।

स्थानीय युवाहरू वैदेशिक रोजगारी तथा शहरतर्फ आकर्षित हुँदै जाँदा चौँरीपालन गर्ने परिवारको संख्या घटिरहेको छ। त्यसमाथि परम्परागत चरन क्षेत्रहरू संकुचित बन्दै जानु र मौसमको स्वरूप परिवर्तन हुनुले पशुपालन व्यवसायलाई थप कठिन बनाएको छ।

लाङटाङ क्षेत्रका चौँरीपालकहरू अझै पनि चौँरीलाई चराउन ५ हजार मिटरभन्दा माथिका हिमाली क्षेत्रमा पुग्ने गर्छन्। तर विगतको तुलनामा हिमाली वातावरणमा आएको परिवर्तनले चरन व्यवस्थापन जटिल बन्दै गएको छ।

अनियमित वर्षा, हिउँ पर्ने समयको परिवर्तन, तापक्रम वृद्धि तथा वनस्पतिको स्वरूपमा आएको फेरबदलले पशुपालन व्यवसायमा प्रत्यक्ष असर पारिरहेको स्थानीयहरू बताउँछन्।

जलवायु परिवर्तनको प्रभाव हिमालमा तीव्र रूपमा देखिन थालेपछि उत्पादनको आधार नै कमजोर बन्दै गएको चिन्ता सरोकारवालाहरूको छ।

क्यान्जिनमा उत्पादन हुने चिजको विशेषता यसको लामो प्रशोधन प्रक्रिया पनि हो।

कारखानामा संकलित दूध तुरुन्तै बजार पठाउन मिल्दैन। दूध प्रशोधन गरी चिज तयार गरेपछि कम्तीमा तीन महिना परिपक्व हुनका लागि राख्नुपर्ने हुन्छ।

चिज मेकर तामाङका अनुसार तीन महिनापछि मात्रै चिज उपभोगयोग्य बन्छ। तर परिपक्व हुने अवधि जति लामो भयो, यसको स्वाद र गुणस्तर त्यति नै उत्कृष्ट बन्दै जान्छ।

यही कारणले क्यान्जिन चिजलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय पर्वतीय चिजको रूपमा हेरिन्छ।

कारखानामा कार्यरत सेल्सम्यान दिपक श्रेष्ठका अनुसार क्यान्जिन पुग्ने अधिकांश पर्यटक याक चिज किन्न र स्वाद लिन विशेष रुचि देखाउँछन्।

उनका अनुसार धेरै पर्यटक उत्पादन प्रक्रिया अवलोकन गर्न, चिज कसरी बनाइन्छ भन्ने बुझ्न र हिमाली जीवनशैली नजिकबाट अनुभव गर्न कारखानासम्म पुग्ने गर्छन्।

विदेशी पर्यटकहरूका लागि यो केवल खाद्य सामग्री नभई हिमाली संस्कृतिसँग जोडिएको स्मरणीय अनुभव बन्ने गरेको श्रेष्ठ बताउँछन्।

हालै प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले सामाजिक सञ्जालमा याक चिज खाइरहेको तस्वीर सार्वजनिक गरेपछि क्यान्जिनको चिज पुनः चर्चामा आएको थियो।

त्यसपछि बजारमा याक चिजबारे चासो बढेको र मागमा समेत उल्लेख्य वृद्धि भएको डीडीसी स्रोतको भनाइ छ। सामाजिक सञ्जालको प्रभावले परम्परागत उत्पादनहरूलाई नयाँ पुस्तामाझ चिनाउन मद्दत गरेको स्थानीयहरू बताउँछन्।

हाल रसुवा जिल्लामा क्यान्जिन, धुन्चे, चन्दनबारी, गत्लाङ र तातोपानी गरी पाँच स्थानमा याक तथा चौँरीको दूधबाट चिज उत्पादन भइरहेको छ।

यीमध्ये क्यान्जिन गोम्पाको केन्द्रलाई विश्वकै उच्च स्थानमा सञ्चालित चिज कारखानामध्ये एक मानिन्छ। दुर्गम हिमाली भौगोलिक अवस्थाका बाबजुद निरन्तर उत्पादन जारी राख्नु आफैँमा महत्वपूर्ण उपलब्धि मानिन्छ।

स्थानीय समुदायका लागि यो उद्योग केवल उत्पादन केन्द्र होइन, जीवनयापनको आधार हो। चौँरीपालन, दूध संकलन, चिज प्रशोधन र पर्यटनसँग जोडिएको यो उद्योगले लाङटाङ क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ।

default

तर उत्पादनमा आएको गिरावट, पशुपालकको संख्या घट्दै जानु, जलवायु परिवर्तनको बढ्दो असर तथा युवा पुस्ताको व्यवसायप्रतिको घट्दो आकर्षणले यसको भविष्यप्रति चिन्ता थपिएको छ।

विशेषज्ञहरूका अनुसार हिमाली पशुपालनलाई प्रोत्साहन, चरन क्षेत्र संरक्षण, जलवायु अनुकूलन कार्यक्रम र स्थानीय उत्पादनको बजार विस्तारमा राज्यले विशेष ध्यान दिन सके मात्र यस्तो मौलिक उद्योग दीर्घकालसम्म टिकाउन सम्भव हुनेछ।

हिमालको काखमा जन्मिएको क्यान्जिनको याक चिज आज एक खाद्य पदार्थ मात्र नभई नेपालको हिमाली संस्कृति, स्थानीय श्रम, परम्परा र पहिचानको प्रतीक बनेको छ।

तर यही स्वादलाई भावी पुस्तासम्म जोगाइराख्न अहिले नै प्रभावकारी पहल आवश्यक देखिएको छ।

इलन मस्क : विश्वकै पहिलो ‘ट्रिलियनियर’

काठमाडौं । टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत इलन मस्क विश्वकै पहिलो ट्रिलियनियर बन्ने चरणमा पुगेका छन्। उनको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) मार्फत ७५ अर्ब अमेरिकी डलर जुटाएपछि मस्कको कुल सम्पत्ति एक ट्रिलियन डलर नाघ्ने अनुमान गरिएको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कम्पनीका वित्तीय विवरण र बजार मूल्यांकनका आधारमा गरिएको गणनाले मस्कको सम्पत्ति १.१ ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुग्न सक्ने देखाएको छ। शुक्रबार सेयर कारोबार सुरु भएसँगै उनको सम्पत्तिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।

यसअघि फोर्ब्सले मस्कको कुल सम्पत्ति करिब ७८० अर्ब अमेरिकी डलर रहेको अनुमान गरेको थियो। पछिल्लो मूल्यांकनअनुसार उनको सम्पत्तिको ठूलो हिस्सा स्पेसएक्समा केन्द्रित छ। कम्पनीमा रहेको उनको स्वामित्वको मूल्य मात्रै करिब ८६६ अर्ब डलर बराबर रहेको बताइएको छ। टेस्ला तथा अन्य व्यवसायिक लगानीले समेत उनको सम्पत्तिलाई थप उचाइमा पुर्‍याएको छ।

फोर्ब्स वेल्थका उपसम्पादक म्याट डुरोटका अनुसार मस्कको सम्पत्ति विश्वका दोस्रो धनी व्यक्तिको तुलनामा झन्डै तीन गुणा बढी हुन सक्छ। उनका अनुसार दोस्रो स्थानमा रहेका व्यक्तिको सम्पत्ति करिब ३०० अर्ब डलरको हाराहारीमा रहेको छ।

हाल मस्कपछि ल्यारी पेज विश्वका धनी व्यक्तिहरूको सूचीमा अग्रस्थानमा रहेका व्यक्तिमध्ये एक मानिन्छन्।

५४ वर्षीय मस्कको जन्म दक्षिण अफ्रिकाको प्रिटोरियामा भएको हो। उनले पेन्सिल्भानिया विश्वविधालयबाट सन् १९९७ मा अध्ययन पूरा गरेका थिए। सन् २००८ मा Tesla को नेतृत्व सम्हालेपछि उनले विद्युतीय सवारीसाधन उद्योगमा नयाँ युगको सुरुआत गरेको श्रेय पाएका छन्।

विश्लेषकहरूका अनुसार टेस्लाको सफलताले विश्वभरका परम्परागत अटोमोबाइल कम्पनीहरूलाई विद्युतीय सवारी उत्पादनमा लगानी बढाउन प्रेरित गरेको छ।

टेस्ला र स्पेस-एक्स बाहेक मस्कले अन्य विभिन्न कम्पनीहरूको पनि सह-स्थापना गरेका छन्। तीमध्ये द बोरिङ कम्पनी र न्युरालिङ्क विशेष चर्चामा रहेका कम्पनी हुन्।

यद्यपि मस्कको व्यवसायिक सफलता सधैं विवादमुक्त भने रहेको छैन। सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) खरिद गरेपछि उनी राजनीति, आप्रवासन, सरकारी खर्च तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी विषयमा खुलेर धारणा राख्ने व्यक्तिका रूपमा परिचित बनेका छन्।

सन् २०२५ मा विभिन्न अन्तर्राष्ट्रिय बजारमा टेस्लाको बिक्रीमा गिरावट आउनुका साथै कम्पनीविरुद्ध बहिष्कार र प्रदर्शनका अभियान सञ्चालन भए पनि लगानीकर्ताहरूको मस्कप्रतिको विश्वास भने बलियो रहेको विश्लेषकहरूले बताएका छन्। यही विश्वासले उनलाई विश्वकै पहिलो ट्रिलियनियर बन्ने ऐतिहासिक उपलब्धिको नजिक पुर्‍याएको मानिएको छ।

 

पाराग्वेमाथि अमेरिकाको सहज जित

काठमाडौं । आयोजक राष्ट्र अमेरिकाले फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ। समूह चरणअन्तर्गत शनिबार बिहान लस एन्जलसस्थित सोफी स्टेडियममा सम्पन्न खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

घरेलु समर्थकको उत्साहजनक साथ पाएको अमेरिकाले खेलको सुरुआतदेखि नै दबाब सिर्जना गरेको थियो। खेलको सातौं मिनेटमा वेस्टन म्याकेनीको क्रसलाई क्लियर गर्ने प्रयासमा पाराग्वेका डिफेन्डर डामियान बोबाडिल्लाले आत्मघाती गोल गरेपछि अमेरिका अग्रतामा पुगेको थियो।

अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुन खेलका प्रमुख आकर्षण बने। सुरुआतमा उनले गरेको एक गोल अफसाइडका कारण अमान्य भए पनि उनले ३१औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा लगातार दुई गोल गर्दै टोलीलाई ३–० को बलियो अग्रता दिलाए।

दोस्रो हाफमा पाराग्वेले खेलमा फर्कने प्रयास गर्‍यो। ७३औं मिनेटमा माउरिसियोले गोल गर्दै अन्तर घटाए पनि त्यसले नतिजा बदल्न सकेन। खेलको अन्त्यतिर जियोभान्नी रेयनाले शानदार फिनिसिङमार्फत अमेरिकाका लागि चौथो गोल थप्दै जित सुनिश्चित गरे।

यस प्रभावशाली प्रदर्शनसँगै अमेरिकाले विश्वकप अभियान सुखद ढंगले सुरु गरेको छ भने पाराग्वेले पहिलो खेलमै निराशाजनक हार व्यहोरेको छ।

गायिका तथा अभिनेत्री तारा लावतीकाे ‘उडी उडी’ सार्वजनिक

काठमाडौं । गायिका तथा अभिनेत्री तारा लावतीको स्वर र अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘उडी उडी’ सार्वजनिक भएको छ। भिडियोमा तारा लावतीसँगै निर्भिक राईको अभिनय रहेको छ।

गीतमा डा. कृष्णहरि बरालको शब्द, महेश खड्काको संगीत तथा दीपा सुहाङ र अप्सु योगीको कोरस स्वर रहेको छ।

‘उडी उडी’ले प्रेम, आत्मखोज र जीवनको पूर्णताको खोजलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ।

गीतको मुख्य भाव ‘आधाले कहाँ जीवन चल्छ सधैंभरी, आफ्नै आधा मुटु खोज्न उडी चरी’ भन्ने हरफमा केन्द्रित छ।

गीतले मानिसको जीवन अधुरो रहँदा उसले आफ्नो अस्तित्व, प्रेम र आत्मीय सम्बन्धको खोजीमा निरन्तर यात्रारत रहने मनोविज्ञानलाई अभिव्यक्त गरेको छ।

गीतमा प्रेम सम्बन्धको विषय नभई आत्मपहिचानको यात्राका रूपमा चित्रित गरिएको छ।

‘कस्तो हुन्छ माया ? साँच्चै जान्ने यो मन’ भन्ने भावमार्फत प्रेमप्रतिको जिज्ञासा, उत्सुकता र अनुभूतिलाई उजागर गरिएको छ।

धर्ती र गगनसँग संवाद गरेझैं प्रस्तुत गरिएका शब्दहरूले प्रेमको अर्थ खोज्ने मनको बेचैनी र आकांक्षालाई झल्काउँछन्।

त्यसैगरी ‘फिँजाएर मनको पंखा, मनकै आकाशभरी’ भन्ने अभिव्यक्तिले स्वतन्त्रता, सपना र सम्भावनाको संसारमा उड्न चाहने मनको चित्र कोरेको छ।

चरीको विम्ब प्रयोग गर्दै गीतले प्रेम, आशा र आत्मविश्वासको खोजमा अघि बढ्ने जीवनयात्रालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।

सार्वजनिक म्युजिक भिडियोले गीतको भावलाई दृश्यात्मक रूपमा उतार्दै प्रेम र आत्मखोजको संवेदनशील कथा प्रस्तुत गरेको छ। गीतले प्रेमलाई केवल दुई व्यक्तिबीचको सम्बन्धका रूपमा होइन, जीवनलाई पूर्ण बनाउने भावनात्मक खोजका रूपमा व्याख्या गरेको छ।

विश्वकप : कुन-कुन कलाकार कुन-कुन टिमको समर्थनमा ?  

काठमाडौं। विश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ फिफा विश्वकप–२०२६ सुरु भएको छ। जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुने यस संस्करणलाई इतिहासकै सबैभन्दा ठूलो विश्वकपका रूपमा हेरिएको छ।

प्रतियोगितामा पहिलो पटक ४८ राष्ट्र सहभागी भएका छन्, जसले खेल संख्या र प्रतिस्पर्धा दुवै उल्लेखनीय रूपमा बढाएको छ।

यसपटकको विश्वकपमा कुल १०४ खेल हुनेछन्, जुन अघिल्ला संस्करणभन्दा धेरै हो। उद्घाटन खेल सम्पन्न भइसकेको छ, जसमा आयोजक राष्ट्रहरूमध्ये एक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलले सन् २०१० को विश्वकप उद्घाटन खेलको स्मरण गराएको छ, जहाँ पनि यी दुई टोली आमनेसामने भएका थिए।

नयाँ ढाँचासँगै विश्वकप अझ विस्तारित, प्रतिस्पर्धात्मक र दर्शकका लागि रोमाञ्चक हुने अपेक्षा गरिएको छ। समूह चरणदेखि नकआउट चरणसम्मको संरचना विस्तार भएकाले हरेक खेलले थप महत्व पाउने विश्लेषकहरूको भनाइ छ।

विश्वकपको इतिहासमै पहिलो पटक ४८ टिमको सहभागिताले फुटबलको विश्वव्यापी विस्तारलाई स्पष्ट देखाएको छ। परम्परागत रूपमा प्रभुत्व जमाउँदै आएका युरोप र दक्षिण अमेरिकी टिमसँगै अफ्रिका, एसिया र क्यारिबियन क्षेत्रका नयाँ टिमहरूको सहभागिताले प्रतियोगितालाई अझ विविध र प्रतिस्पर्धात्मक बनाएको छ। यसले अन्डरडग टिमहरूको सम्भावना पनि बढाएको छ, जसले विश्वकपलाई अझ रोमाञ्चक बनाएको छ।

विश्वभर जस्तै नेपालमा पनि विश्वकपको उत्साह बढ्दो छ। समर्थकहरू आफ्ना मनपर्ने टिमको समर्थनमा उत्साहित देखिएका छन्। सामाजिक सञ्जालदेखि चिया पसलसम्म फुटबलको चर्चा अहिले प्रमुख विषय बनेको छ।

विशेषगरी कलाकार तथा सेलिब्रेटीहरूले पनि आफ्नो रोजाइ सार्वजनिक गर्दै विश्वकपलाई अझ रंगीन बनाइरहेका छन्।

यता नेपालमा भने अभिनेत्री रेखा थापाले पोर्चुगललाई आफ्नो मनपर्ने टिम बताउँदै क्रिस्टियानो रोनाल्डोको खेलप्रति विशेष आकर्षण रहेको बताइन्। उनले पोर्चुगलले उपाधि जितोस् भन्ने शुभकामना व्यक्त गरिन् र रोनाल्डोको निरन्तरता र अनुशासनले आफूलाई प्रभावित गर्ने उल्लेख गरिन्।

गायिका ज्योती मगरले भने नेपाल नै विश्वकपमा पुगेको हेर्न चाहेको बताउँदै कुनै एक टिमको पक्ष लिनुभन्दा खेलको अन्तिम चरणमा पुगेर समर्थन गर्ने आफ्नो शैली रहेको उल्लेख गरिन्। उनले प्रारम्भिक चरणका खेलभन्दा नकआउट चरणका खेलमा बढी चासो हुने बताउँदै खेलाडीहरूलाई विश्वकपबाट सिक्न आग्रह गरिन्। साथै उनले खेल केवल मनोरञ्जन नभई अनुशासन, मेहनत र रणनीतिक सोच सिक्ने माध्यम भएको टिप्पणी गरिन्।

अभिनेता भुवन केसीले लामो समयदेखि अर्जेन्टिनाको समर्थन गर्दै आएको उल्लेख गर्दै यस पटक पनि मेसीको नेतृत्वमा अर्जेन्टिना उपाधि जितोस् भन्ने आशा व्यक्त गरे। उनले अर्जेन्टिनाको ऐतिहासिक प्रदर्शन र टोली भावना आफूलाई आकर्षक लाग्ने बताए। यद्यपि अन्तिम निर्णय खेलको प्रदर्शनका आधारमा हुने उनको भनाइ थियो।

गायक डम्बर नेपालीले पनि अर्जेन्टिनाप्रति आफ्नो लामो समयदेखिको समर्थन दोहोर्‍याउँदै खेललाई मनोरञ्जनका रूपमा लिनुपर्ने बताए। उनले विश्वकपलाई विश्व एकता र खेलभावनाको उत्सवका रूपमा व्याख्या गरे।

अभिनेत्री सिर्जना सुब्बाले लियोनेल मेसीलाई विश्व फुटबलकै उत्कृष्ट खेलाडी भन्दै उनको योगदानप्रति प्रशंसा व्यक्त गरिन्। उनले मेसीको नेतृत्व, धैर्यता र संघर्षले युवा पुस्तालाई ठूलो प्रेरणा दिएको बताइन्। साथै उनले खेलकुदमा भविष्य छैन भन्ने पुरानो सोच परिवर्तन गर्नुपर्ने र खेललाई करियरका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन्।

कलाकार दीपकराज गिरीले अर्जेन्टिनाको समर्थक रहेको उल्लेख गर्दै यस पटक फ्रान्स र अर्जेन्टिना फाइनलमा पुग्न सक्ने अनुमान गरे। उनले विश्वकपलाई मनोरञ्जनको ठूलो स्रोतका रूपमा व्याख्या गर्दै यसपटक कामको व्यस्तताका कारण पूर्ण रूपमा समय दिन नसकेको बताए। उनले आधुनिक समयमा फुटबलको क्रेज पहिलेको तुलनामा केही परिवर्तन भएको भए पनि विश्वकपको आकर्षण भने अझै उस्तै रहेको टिप्पणी गरे।

अभिनेता विजय बरालले ब्राजिलको समर्थन गर्दै सन् २००२ को विश्वकपदेखि नै ब्राजिलप्रति विशेष आकर्षण रहेको बताए। उनले ब्राजिलको आक्रामक खेल शैली र इतिहास आफूलाई मन पर्ने बताए। साथै उनले ब्राजिल फाइनल पुग्ने आशा व्यक्त गरे पनि खेलको नतिजा सधैं अनिश्चित हुने स्वीकार गरे।

अभिनेत्री वर्षा राउतले पनि ब्राजिलको समर्थन गर्दै सन् २००२ यता ब्राजिलप्रति आकर्षण बढेको बताइन्। उनले जर्मनी र ब्राजिल फाइनलमा पुग्ने अनुमानसमेत गरिन् र विश्वकपलाई उत्सवका रूपमा लिने आफ्नो अनुभव साझा गरिन्।

अभिनेत्री बिनिता कार्कीले अर्जेन्टिनालाई आफ्नो प्रिय टिम बताउँदै फ्रान्सलाई पनि मन पर्ने टिमका रूपमा उल्लेख गरिन्। उनले समर्थन गरेको टिम जितोस् भन्नेभन्दा पनि राम्रो प्रदर्शन होस् भन्ने चाहना व्यक्त गरिन्। खेलमा नतिजाभन्दा प्रदर्शन र खेलभावनालाई बढी महत्व दिनुपर्ने उनको धारणा थियो।

अभिनेत्री नीति शाहले यस पटक पोर्चुगल र ब्राजिल फाइनलसम्म पुग्न सक्ने अपेक्षा व्यक्त गरिन्। उनले दुवै टिमको आक्रामक खेल शैली आफूलाई आकर्षक लाग्ने बताइन् र विश्वकपलाई विश्व संस्कृतिको साझा उत्सवका रूपमा व्याख्या गरिन्।

यसरी विश्वकप सुरु हुनुअघि नै नेपालमा खेलप्रतिको उत्साह चरममा पुगेको देखिन्छ। कलाकारदेखि आम दर्शकसम्म आ–आफ्नै टिमप्रतिको समर्थनले विश्वकपलाई खेल नभई एउटा विश्वव्यापी उत्सवका रूपमा स्थापित गरेको छ।  

 

‘फाइभ जी’ : मानव आविष्कारको अन्तिम फड्को ?

काठमाडौं। मानव सभ्यताको विकाससँगै सञ्चार प्रविधिले पनि निरन्तर फड्को मार्दै आएको छ। कुनै समय एउटा सन्देश अर्को ठाउँमा पुर्‍याउन दिनौँ लाग्थ्यो भने आज संसारको जुनसुकै कुनामा रहेका मानिससँग केही सेकेन्डमै सम्पर्क गर्न सकिन्छ।

टेलिफोनबाट सुरु भएको यो यात्रा स्मार्टफोनसम्म आइपुग्दा सञ्चारको स्वरूप मात्र परिवर्तन भएको छैन। सम्पूर्ण जीवनशैली नै डिजिटल प्रविधिसँग गाँसिएको छ। यही परिवर्तनको पछिल्लो र सबैभन्दा शक्तिशाली अध्याय हो पाँचौँ पुस्ताको मोबाइल सञ्जाल अर्थात् ५ जी।

धेरै मानिसले ५ जीलाई छिटो इन्टरनेटको रूपमा बुझ्ने गर्छन्। तर वास्तवमा ५ जी मोबाइलमा भिडियो छिटो हेर्ने वा फाइल छिटो डाउनलोड गर्ने प्रविधि मात्र नभई भविष्यको डिजिटल अर्थतन्त्र, स्मार्ट उद्योग, स्वचालित यातायात, आधुनिक स्वास्थ्य सेवा र बुद्धिमान शहरहरूको आधारभूत पूर्वाधार पनि हो। विज्ञहरूका अनुसार ५ जीले मानिस मात्र होइन, करोडौँ यन्त्र, मेसिन र उपकरणलाई एकअर्कासँग जोडेर नयाँ डिजिटल पारिस्थितिकी प्रणाली निर्माण गर्नेछ।

मोबाइल नेटवर्कको इतिहास हेर्ने हो भने प्रत्येक पुस्ताले एउटा नयाँ क्रान्ति ल्याएको छ। सन् १९८० को दशकमा सुरु भएको पहिलो पुस्ताको मोबाइल सञ्जाल (१ जी) ले मानिसलाई तारबिनाको आवाज सञ्चारको सुविधा दियो। 

त्यसपछि आएको दोस्रो पुस्ता (२ जी) ले डिजिटल प्रविधि र एसएमएस सेवाको सुरुवात गर्‍यो। तेस्रो पुस्ता (३ जी) ले मोबाइल इन्टरनेटको ढोका खोल्यो भने चौथो पुस्ता (४ जी) ले भिडियो स्ट्रिमिङ, सामाजिक सञ्जाल र मोबाइल एपको युगलाई तीव्र बनायो। 

अहिले ५ जीले ती सबै सीमालाई पार गर्दै सम्पूर्ण डिजिटल संसारलाई नयाँ दिशातर्फ लैजान खोजिरहेको देखिन्छ ।

५ जीलाई विशेष बनाउने प्रमुख कारण यसको अत्यधिक गति, न्यून विलम्बता (लेटेन्सी) र विशाल जडान क्षमता हो। सैद्धान्तिक रूपमा ५ जीको गति १० देखि २० गिगाबिट प्रति सेकेन्डसम्म पुग्न सक्छ, जुन ४ जीको तुलनामा धेरै गुणा छिटो हो। 

यसको प्रतिक्रिया समय केवल १ मिलिसेकेन्डसम्म हुन सक्छ। सामान्य प्रयोगकर्ताका लागि यो  छिटो इन्टरनेट जस्तो लाग्न सक्छ। तर प्रविधिको दुनियाँमा यसले ठूलो परिवर्तन ल्याउँछ। उदाहरणका लागि, स्वचालित कारले सडकमा देखिएको अवरोधलाई तत्काल पहिचान गरेर निर्णय लिनुपर्ने हुन्छ। त्यहाँ केही सेकेन्डको ढिलाइ पनि दुर्घटनाको कारण बन्न सक्छ। ५ जीको न्यून विलम्बताले यस्ता प्रणालीलाई सुरक्षित रूपमा सञ्चालन गर्न मद्दत गर्छ।

५ जीको सफलताको आधार यसको अत्याधुनिक प्रविधिमा छ। ‘म्यासिभ माइमो’ नामक प्रणालीले एकै समयमा धेरै एन्टेनाबाट डाटा आदानप्रदान गर्न सक्छ। अघिल्ला सञ्जालमा सीमित एन्टेना प्रयोग गरिन्थ्यो भने ५ जीमा सयौँ एन्टेनाले एकसाथ काम गर्न सक्छन्।

 यसले नेटवर्क क्षमता बढाउनुका साथै धेरै प्रयोगकर्तालाई एउटै समयमा सेवा दिन सक्षम बनाउँछ। त्यस्तै ‘बीमफर्मिङ’ प्रविधिले सिग्नललाई चारैतिर फैलाउनुको सट्टा प्रयोगकर्ता भएको दिशातर्फ केन्द्रित गर्छ। यसले सिग्नल बलियो, स्थिर र प्रभावकारी बनाउँछ।

५ जीले ‘मिलिमिटर वेभ’ नामक उच्च आवृत्तिका रेडियो तरङ्गको पनि प्रयोग गर्छ। यी तरङ्गहरूले ठूलो परिमाणमा डाटा बोक्न सक्छन्, जसका कारण अत्यधिक गति सम्भव हुन्छ। 

यद्यपि यस्ता तरङ्गको दूरी सीमित हुने भएकाले सहरका विभिन्न स्थानमा साना बेस स्टेशनहरू स्थापना गर्नुपर्छ। त्यसैले ५ जीको पूर्वाधार निर्माण अन्य सञ्जालको तुलनामा बढी जटिल र खर्चिलो मानिन्छ।

५ जीको अर्को रोचक पक्ष ‘नेटवर्क स्लाइसिङ’ हो। यसले एउटै भौतिक सञ्जाललाई विभिन्न प्रयोजनका लागि छुट्टाछुट्टै भर्चुअल सञ्जालमा विभाजन गर्न सक्छ।  

यसैगरी ‘एज कम्प्युटिङ’ प्रविधिले डाटा प्रशोधनलाई प्रयोगकर्ताको नजिकै ल्याउँछ। परम्परागत प्रणालीमा डाटा टाढाको डाटा सेन्टरमा पठाइन्थ्यो, जसका कारण प्रतिक्रिया समय बढ्थ्यो। तर एज कम्प्युटिङमा डाटा नजिकैका सर्भरमा प्रशोधन गरिने भएकाले सेवा अझ छिटो र प्रभावकारी हुन्छ। यही कारणले ५ जीलाई भविष्यका रोबोट, स्वचालित कार र स्मार्ट उद्योगका लागि अत्यावश्यक प्रविधिका रूपमा हेरिएको छ।

५ जीको प्रभाव स्वास्थ्य क्षेत्रदेखि कृषिसम्म देखिनेछ। स्वास्थ्य क्षेत्रमा चिकित्सकले टाढाबाटै बिरामीको निगरानी गर्न सक्नेछन्। रोबोटिक सर्जरी, एआई आधारित स्वास्थ्य विश्लेषण र रियल–टाइम स्वास्थ्य सेवा अझ प्रभावकारी बन्नेछन्। कृषिमा ड्रोनमार्फत बालीको निगरानी, माटोको अवस्था विश्लेषण, स्मार्ट सिँचाइ र रोग पहिचान जस्ता कार्य सहज हुनेछन्। यसले उत्पादन वृद्धि र लागत घटाउन मद्दत पुर्‍याउन सक्छ।

यातायात क्षेत्रमा पनि ५ जीले नयाँ युग सुरु गर्ने अपेक्षा गरिएको छ। चालकविहीन सवारी साधन, स्मार्ट ट्राफिक व्यवस्थापन र सवारी साधनबीचको प्रत्यक्ष सञ्चार ५ जीकै आधारमा सम्भव हुनेछ। विश्वका विकसित देशहरूले अहिले नै यस्ता प्रणालीमा लगानी गरिरहेका छन्।

 त्यस्तै स्मार्ट सिटीको अवधारणालाई सफल बनाउन पनि ५ जी महत्वपूर्ण आधार मानिएको छ। ट्राफिक बत्ती, सडक बत्ती, सुरक्षा क्यामेरा, ऊर्जा वितरण र सार्वजनिक सेवाहरूलाई एउटै सञ्जालमा जोडेर शहर व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सकिन्छ।

नेपालजस्ता विकासोन्मुख देशका लागि ५ जी ठूलो अवसर र चुनौती दुवै हो। आवश्यक पूर्वाधार निर्माण, फाइबर नेटवर्क विस्तार, लगानी र नीतिगत तयारी बिना ५ जीको पूर्ण लाभ लिन सकिँदैन। तर यदि यी पक्षमा पर्याप्त ध्यान दिइयो भने शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योग क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन सकिन्छ।

अन्ततः ५ जी भविष्यको डिजिटल समाज निर्माण गर्ने मेरुदण्ड हो। जसरी विद्युत् र इन्टरनेटले मानव जीवनलाई नयाँ दिशा दिएका थिए। त्यसरी नै ५ जीले आगामी दशकहरूमा अर्थतन्त्र, उद्योग र दैनिक जीवनलाई पुनः परिभाषित गर्ने सम्भावना बोकेको छ।

ट्रम्पको दाबीपछि पनि किन सकिएन अमेरिका–इरान युद्ध ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबीचको लामो समयदेखि जारी सैन्य तनाव अन्त्य भएको दाबी गरेपछि अन्तर्राष्ट्रिय राजनीति पुनः एकपटक मध्यपूर्वतर्फ केन्द्रित भएको छ।

ट्रम्पका अनुसार दुवै पक्षबीच युद्ध रोक्न र आणविक कार्यक्रम नियन्त्रणमा राख्न ‘बलियो समझदारी’ बनेको छ। तर इरानले भने हालसम्म कुनै पनि अन्तिम सम्झौता आधिकारिक रूपमा स्वीकार नगरेको स्पष्ट पारेपछि यो दाबी वास्तविक शान्ति प्रक्रिया हो वा राजनीतिक घोषणामात्र भन्ने विषयमा व्यापक बहस सुरु भएको छ।

जर्जिया राज्यमा आयोजित एक राजनीतिक र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिका–इरान युद्ध अन्त्य भएको घोषणा गरेका थिए। उनले इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता जनाएको दाबी गर्दै यही विषयलाई वार्ताको मूल आधार भएको बताए। 

ट्रम्पका अनुसार ‘सम्झौताको ९५ प्रतिशत विषय’ पहिले नै टुंगिएको छ र बाँकी प्रक्रिया औपचारिकतामात्र रहेको छ। उनले थप सैन्य कारबाहीहरू रोकिएको घोषणा पनि गरेका छन्। तर विस्तृत सम्झौताका कागजात सार्वजनिक नभएकाले उनको दाबीमाथि प्रश्न उठिरहेको छ।

अमेरिकी प्रशासनभित्रै पनि यस विषयलाई लिएर एकरूपता देखिएको छैन। केही अधिकारीहरूले वार्तामा प्रगति भएको स्वीकार गरे पनि युद्ध अन्त्य भइसकेको भन्ने भनाइलाई समयअगावै गरिएको राजनीतिक घोषणा भएको बताएका छन्। कूटनीतिक स्रोतहरूका अनुसार अमेरिका र इरानबीच लामो समयदेखि अप्रत्यक्ष वार्ता चलिरहेको थियो, जसमा कतार र पाकिस्तानजस्ता देशहरूले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका छन्।

इरानको प्रतिक्रिया भने अपेक्षाकृत कडा र सावधानीपूर्ण देखिएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माएल बाघेईले ट्रम्पको दाबीलाई ‘अनुमान र अड्कलबाजी’ को संज्ञा दिएका छन्। उनका अनुसार वार्ताका केही चरणमा प्रगति भए पनि कुनै पनि अन्तिम सम्झौता स्वीकृत गरिएको छैन। उनले अमेरिकाले बारम्बार आफ्नो अडान परिवर्तन गरेको आरोप लगाउँदै वर्तमान कूटनीतिक प्रक्रिया अस्थिर अवस्थामा रहेको बताएका छन्।

इरानले आफ्नो ‘रेड लाइन’ मा कुनै सम्झौता नगर्ने अडान दोहोर्‍याएको छ, विशेषगरी आणविक कार्यक्रम, मिसाइल विकास र क्षेत्रीय सुरक्षा प्रभावका विषयमा। इरानी पक्षले पश्चिमी दबाबका आधारमा गरिने कुनै पनि सम्झौता स्वीकार नहुने स्पष्ट संकेत दिएको छ। यही कारणले वार्ता प्रक्रिया जटिल र लामो बनेको विश्लेषकहरूको भनाइ छ।

यसैबीच, ट्रम्प प्रशासनले सम्भावित सम्झौताअन्तर्गत इरानका आणविक पूर्वाधार सीमित गर्ने, संवर्धित युरेनियम हटाउने र मिसाइल उत्पादन नियन्त्रण गर्ने जस्ता प्रावधानहरू समावेश हुन सक्ने संकेत दिएको छ। इजरायली पक्षले पनि यस्ता सर्तहरूलाई समर्थन जनाउँदै इरानको क्षेत्रीय गतिविधिमा कडाइ आवश्यक रहेको बताएको छ।

आर्थिक क्षेत्रमा भने ट्रम्पको घोषणाले तत्काल प्रभाव पारेको देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। ब्रेन्ट क्रूडको मूल्यमा करिब ४ प्रतिशतभन्दा बढी कमी आएको रिपोर्ट गरिएको छ। ऊर्जा बजार विश्लेषकहरूका अनुसार युद्ध अन्त्यको सम्भावनाले आपूर्ति शृंखलामा स्थिरता आउने अपेक्षा गरिएको छ, जसले तेलको मूल्यमा तत्काल दबाब पारेको हो।

तर बजार विश्लेषकहरू अझै सावधानी अपनाउन सुझाव दिइरहेका छन्। उनीहरूका अनुसार यदि सम्झौता औपचारिक रूपमा हस्ताक्षर भएन भने तेल बजार पुनः अस्थिर बन्न सक्छ। विशेषगरी स्ट्रेट अफ हर्मुजको अवस्था अझै अनिश्चित भएकाले ऊर्जा आपूर्ति जोखिम पूर्ण रूपमा हटिसकेको छैन।

स्ट्रेट अफ हर्मुज यो सम्पूर्ण घटनाक्रमको सबैभन्दा संवेदनशील पक्ष हो। विश्वको ठूलो मात्रामा कच्चा तेल यही समुद्री मार्गबाट ढुवानी हुने भएकाले यसको बन्द वा अवरोधले विश्व अर्थतन्त्रमै ठूलो प्रभाव पार्न सक्छ। ट्रम्पले सम्झौता कार्यान्वयनपछि उक्त मार्ग पुनः पूर्ण रूपमा खुल्ने बताएका छन्, तर इरानले यस विषयलाई वार्ताको अन्तिम चरणमा मात्र छलफल गर्न सकिने बताएको छ।

विशेषज्ञहरूका अनुसार वर्तमान अवस्था ‘पूर्ण युद्ध अन्त्य’ भन्दा बढी ‘तनावपूर्ण युद्धविराम’ को रूपमा देखिएको छ। विगत केही महिनामा दुवै पक्षबीच सीमित सैन्य झडप र प्रतिशोधात्मक आक्रमणहरू भएका थिए, जसले क्षेत्रीय अस्थिरता अझ बढाएको थियो। त्यसैले अचानक गरिएको युद्ध अन्त्यको घोषणालाई धेरै विश्लेषकहरूले राजनीतिक दबाब र आन्तरिक रणनीतिक उद्देश्यसँग जोडेर हेरेका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषकहरूका अनुसार ट्रम्पको यो घोषणा आगामी निर्वाचन, घरेलु राजनीतिक समर्थन र विदेश नीतिमा ‘उपलब्धि देखाउने प्रयास’ सँग पनि सम्बन्धित हुन सक्छ। यद्यपि केहीले यसलाई वास्तविक कूटनीतिक प्रगति पनि हुन सक्ने सम्भावना अस्वीकार गरेका छैनन्।

इजरायलले यस घटनाक्रममा मिश्रित प्रतिक्रिया दिएको छ। एकातर्फ उसले ट्रम्पको प्रयासको प्रशंसा गरेको छ भने अर्कोतर्फ इरानको आणविक क्षमता र क्षेत्रीय प्रभावलाई पूर्ण रूपमा नियन्त्रण नगरी कुनै पनि सम्झौता पर्याप्त नहुने चेतावनी दिएको छ। इजरायली सुरक्षा नीति लामो समयदेखि इरानलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा लिँदै आएको छ।

गत फेब्रुअरीमा सुरु भएको सैन्य तनावपछि मध्यपूर्वमा अस्थिरता तीव्र रूपमा बढेको थियो। त्यसपछि विभिन्न चरणमा हवाई आक्रमण, साइबर हमला र प्रतिशोधात्मक सैन्य गतिविधिहरू भएका थिए। अप्रिलमा युद्धविरामको प्रयास भए पनि त्यो स्थायी बन्न सकेन। त्यसयता पनि सीमित झडपहरू जारी रहेकाले वास्तविक शान्ति स्थापना हुन नसकेको अवस्था छ।

ट्रम्पको पछिल्लो घोषणाले अहिले अन्तर्राष्ट्रिय समुदायलाई दुई भागमा विभाजित गरेको छ। केही देशहरूले यसलाई शान्तिको सम्भावित बाटोका रूपमा स्वागत गरेका छन् भने केहीले यसलाई अपरिपक्व र अपुष्ट राजनीतिक घोषणा भनेका छन्। संयुक्त राष्ट्रसंघले भने दुवै पक्षलाई संयमता अपनाउन र वार्तालाई निरन्तरता दिन आग्रह गरेको छ।

समग्रमा हेर्दा, वर्तमान अवस्था पूर्ण शान्ति सम्झौता भन्दा बढी संक्रमणकालीन चरणजस्तो देखिन्छ। यदि दुवै पक्षले औपचारिक दस्तावेजमा हस्ताक्षर गरेर त्यसलाई कार्यान्वयनमा लैजान सके भने यो मध्यपूर्वको इतिहासमा एउटा महत्वपूर्ण मोड बन्न सक्छ। तर त्यसो हुन नसकेमा यो घोषणा पुनः एकपटक अस्थायी राजनीतिक दाबीका रूपमा सीमित रहन सक्ने सम्भावना पनि उत्तिकै बलियो छ।

त्यसैले अहिलेको अवस्था स्पष्ट रूपमा ‘युद्ध अन्त्य’ भन्दा बढी ‘अनिश्चित शान्ति प्रक्रिया’ को चरणमा रहेको विश्लेषण अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा गरिएको छ।

विलियम्सनले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । न्युजिल्याण्डका महान ब्याट्सम्यान तथा पूर्वकप्तान केन विलियम्सनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनको निर्णयसँगै विश्व क्रिकेटका सबैभन्दा सम्मानित र सफल खेलाडीमध्ये एकको १६ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा औपचारिक रूपमा समाप्त भएको छ।

सन् २०१० मा न्युजिल्याण्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका विलियम्सनले आफ्नो करियरभर उत्कृष्ट ब्याटिङ, अनुकरणीय नेतृत्व र खेलप्रतिको समर्पणका कारण विशेष पहिचान बनाए । शान्त स्वभाव, संयमित व्यक्तित्व र कठिन परिस्थितिमा समेत टोलीलाई नेतृत्व गर्ने क्षमताका कारण उनी विश्व क्रिकेटका सबैभन्दा सम्मानित कप्तानमध्ये एक मानिन्छन्।

विलियम्सनले आफ्नो करियरमा टेस्ट, एकदिवसीय र टी-२० गरी कुल ३७८ अन्तर्राष्ट्रिय खेल खेले। उनले ४५२ इनिङ्समा १९ हजार ३४६ रन बनाएका छन्। उनको औसत ४८.१२ रहेको छ भने उनले ४८ शतक र १०३ अर्धशतक बनाएका छन्। 

टेस्ट क्रिकेटमा विलियम्सनको योगदान विशेष रूपमा उल्लेखनीय छ। उनले ११० टेस्ट खेलमा ९ हजार ५१५ रन बनाएका छन्। ५४.०६ को प्रभावशाली औसतसहित उनले ३३ शतक र ३८ अर्धशतक प्रहार गरेका छन्। टेस्ट क्रिकेटमा उनको उच्चतम स्कोर २५१ हो । उनी न्युजिल्याण्डका सर्वाधिक सफल टेस्ट ब्याट्सम्यानका रूपमा चिनिन्छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले १७५ खेल खेल्दै ७ हजार २५६ रन जोडे। ४८.६९ को औसतमा उनले १५ शतक र ४७ अर्धशतक बनाएका छन्। यस्तै, टी-२० अन्तर्राष्ट्रियमा ९३ खेल खेल्दै २ हजार ५७५ रन बनाएका उनले छोटो प्रारूपमा पनि आफ्नो प्रभावशाली उपस्थितिलाई कायम राखेका थिए।

विलियम्सनको कप्तानीमा न्युजिल्याण्ड क्रिकेटले ऐतिहासिक सफलता हासिल गरेको थियो। उनले टोलीलाई सन् २०१९ को एकदिवसीय विश्वकपको फाइनलसम्म पुर्‍याएका थिए, जहाँ न्युजिल्याण्ड दुर्भाग्यपूर्ण रूपमा इंग्ल्याण्डसँग पराजित भएको थियो। त्यस प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित गरिएको थियो।

उनकै नेतृत्वमा न्युजिल्याण्डले सन् २०२१ मा पहिलो पटक आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जित्दै इतिहास रचेको थियो। यो उपलब्धि न्युजिल्याण्ड क्रिकेट इतिहासकै सबैभन्दा ठूलो सफलतामध्ये एक मानिन्छ।

विलियम्सन केवल उत्कृष्ट ब्याट्सम्यान मात्र नभई खेलभावना, अनुशासन र विनम्रताको प्रतीक पनि थिए। मैदानभित्र र बाहिर उनको व्यवहारले विश्वभरका क्रिकेट समर्थकहरूको मन जितेको थियो।

बस दुर्घटना हुँदा ११ जना घाइते

धनकुटा । धनकुटामा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

कोशी राजमार्गअन्तर्गत धनकुटा नगरपालिका–९ च्याङच्याङबारीस्थित मूलघाट नजिक शुक्रबार भएको दुर्घटनामा संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनाका कारण केही समय अवरुद्ध बनेको कोशी राजमार्गको धनकुटा–मूलघाट सडक खण्ड हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार बसमा १५ जना यात्रु सवार थिए। दुर्घटनामा घाइते भएका ११ जनाको उद्धार गरी उपचारका लागि नजिकैका स्वास्थ्य संस्थामा पठाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मन्त्रिपरिषद् बैठकले खुलायो काठमाडौं महानगरभित्र १८ सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा खाली गराउने बाटो

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाभित्र अतिक्रमणमा परेका १८ सय रोपनीभन्दा बढी सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले २०५२ सालमा तयार भए पनि कार्यान्वयनमा आउन नसकेको ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।

प्रधानमन्त्रीकी प्रेस सल्लाहकार दीपादाहालका अनुसार सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई आधार मानेर देशभरका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख राख्ने तथा ती जग्गाको संरक्षण गर्ने निर्णय गरिएको छ। निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।

मन्त्रिपरिषद्को निर्णयसँगै तत्कालीन काठमाडौं महानगर क्षेत्रका ३५ वटै वडामा अतिक्रमणमा परेका १ हजार ८५९ रोपनी १४ आना ३ पैसा ३ दाम सार्वजनिक तथा सरकारी जग्गा फिर्ता गराउने कानुनी प्रक्रिया अगाडि बढ्ने भएको छ।

दाहालका अनुसार रावल आयोगको प्रतिवेदन तयार भएको तीन दशक बितिसक्दा पनि राजनीतिक तथा प्रशासनिक कारणले कार्यान्वयन हुन सकेको थिएन। अब सम्बन्धित निकायबीच समन्वय गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर प्रतिवेदन कार्यान्वयन गरिनेछ।

सरकारले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गर्ने व्यक्तिविरुद्ध प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया समेत अघि बढाउने जनाएको छ।

रावल आयोगको अध्ययनअनुसार तत्कालीन काठमाडौं महानगर क्षेत्रमा १८ हजार ९४१ रोपनीभन्दा बढी सार्वजनिक तथा सरकारी जग्गा रहेकामा करिब १० प्रतिशत अर्थात् १ हजार ८५९ रोपनीभन्दा बढी जग्गा अतिक्रमणमा परेको थियो।

आयोगले १ हजार १८७ व्यक्तिले ३०८ कित्ता सरकारी तथा सार्वजनिक जग्गा निजी प्रयोजनमा प्रयोग गरिरहेको तथा थप ६ हजार ९०६ जनाले १ हजार ७६२ कित्ता जग्गा आफ्नो नाममा मिसाएर उपयोग गरिरहेको तथ्य फेला पारेको थियो। यसरी कुल ८ हजार ९३ जनाले २ हजार ७० कित्ता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ।

सरकारले सार्वजनिक सम्पत्तिको संरक्षण तथा गैरकानुनी जग्गा दर्ता सम्बन्धी समस्या समाधान गर्न २०५० सालमा पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरेको थियो। आयोगले विस्तृत अध्ययनपछि २०५२ सालमा सरकारलाई प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदन कार्यान्वयन नभएपछि अधिवक्ता प्रकाशमणि शर्मा लगायतले २०६० सालमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसपछि सर्वोच्च अदालतले विशेषज्ञ समिति गठन गरी अध्ययन गर्न आदेश दिएको थियो। विशेषज्ञ समितिको प्रतिवेदनका आधारमा सर्वोच्चले २०६७ जेठ १२ गते रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न तथा देशभरका सरकारी र सार्वजनिक जग्गा अतिक्रमणको छानबिन गरी कानुनअनुसार कारबाही गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो।

तर सर्वोच्चको उक्त आदेश लामो समयसम्म कार्यान्वयन हुन नसकेपछि वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका तीन प्रमुख निर्णय सार्वजनिक गरेको छ।

बैठकले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको म्याद आगामी असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको उक्त कार्यदललाई बहसपत्र तयारीका लागि थप एक महिनाको समय दिइएको हो।

त्यस्तै, मन्त्रिपरिषद्ले २०५२ सालमा तयार भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लैजान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गरेको छ।

बैठकको अर्को निर्णयअनुसार लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई मनोनयन गरिएको छ।

काभ्रेमा बस दुर्घटना : ८ जनाको मृत्यु, १६ घाइते

काठमाडौँ । काभ्रेको बुचाकोटमा बस दुर्घटनामा परेर ८ जनाकाे मृत्यु भएकाे छ ।

जिल्लाकाे बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।

काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । उनीहरुकाे धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बस बिपी राजमार्गबाट करिब २ सय मिटर तल खसेको छ।

प्रतिनिधि सभा बैठक असार १ गतेसम्म स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक असार १ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बैठक असार १ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

क्रबारको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्दै पेस गरेको प्रस्ताव सभाले स्वीकृत गरेको छ ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हालेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ नम्बर ८१ र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ पेस गरेकी छन् ।

रास्वपा बागमतीको नेतृत्वका लागि चुनाव हुने, यी हुन् प्रतिष्पर्धी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि प्यानलगत प्रतिस्पर्धा हुने संकेत देखिएको छ। प्रदेश नेताहरूले विभिन्न समूह बनाएर आन्तरिक छलफल तीव्र पारेका छन्।

अधिवेशनको पहिलो चरणअन्तर्गत शनिबार मतदान हुने तय गरिएको छ। मकवानपुरको हेटौंडामा जेठ २६ गते उद्घाटन भएको अधिवेशन मतदान प्रक्रिया सुरु नगरी स्थगित भएपछि काठमाडौंमा सारिएको हो। अब मतदान भोलि (जेठ ३० गते) हुने कार्यक्रम छ।

प्रदेश सभापति पदका लागि डा. अच्युतम लामिछाने, उत्सव अर्याल, हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठले उम्मेदवारी दिएका छन्। सभापति पदका आकांक्षी बदन भण्डारीले भने उम्मेदवारी दर्ता गरेका छैनन्।

पार्टीभित्रको आन्तरिक छलफलअनुसार डा. लामिछाने र उत्सव अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। लामिछाने वर्तमान सभापति हुन् भने अर्याल प्रवक्ता हुन्। स्रोतका अनुसार अच्युतम लामिछाने र बदन भण्डारीबीच अघोषित सहमति बनेको चर्चा पनि छ, जसअनुसार लामिछाने सभापति निर्वाचित भएमा पदाधिकारीमा बदन भण्डारीलाई जिम्मेवारी दिने समझदारी भएको बताइन्छ।

त्यस्तै, उपसभापति पदका लागि डा. रमेश ढकाल र हाल सहमहामन्त्री रहेकी राधिका तिमिल्सिना आकांक्षी छन्। कोषाध्यक्ष पदमा रहेकी मेनुका ठकुरी भने महामन्त्री पदका लागि दाबी गर्दै छन्।

रास्वपाको विधानअनुसार पहिलो चरणमा प्रदेश सभापति र प्रदेश सदस्यको निर्वाचन हुन्छ भने दोस्रो चरणमा पदाधिकारी चयनका लागि छुट्टै मतदान गर्नुपर्ने व्यवस्था छ। सभापति पदमा निर्वाचित हुन कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ। कुनै पनि उम्मेदवारले बहुमत नपाएमा पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ।

निर्वाचन आयोगका अनुसार प्रदेश अधिवेशनका लागि १,३०० भन्दा बढी प्रतिनिधि छनोट भएका छन्। पार्टी समायोजन प्रक्रियाका क्रममा करिब ४०० प्रतिनिधिविरुद्ध उजुरी परेपछि विवाद समाधानका लागि मतदानको समय केही पछि सारिएको हो। मतदान विद्युतीय प्रणालीमार्फत हुने जनाइएको छ।

परराष्ट्र मन्त्री खनाल जेठ ३१ गते चीन जाने

काठमाडाैं। परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।

परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस नोटअनुसार मन्त्री खनालको भ्रमण जेठ ३१ गतेदेखि असार ३ गतेसम्मका लागि तय भएको हो। उनी चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा चीन जान लागेका हुन्।

भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ। साथै, उनले चीनका अन्य उच्चस्तरीय पदाधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

मन्त्री खनालले चीनमा आयोजना हुने इन्भेष्टमेन्ट कन्फरेन्समा समेत सहभागिता जनाउनेछन्, जहाँ उनले नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममार्फत चिनियाँ व्यवसायी समुदायसँग लगानीसम्बन्धी छलफल गर्नेछन्।

उनी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ।

 

विश्वकपमा आज दुई खेल, अमेरिकाले पाराग्वे र क्यानाडाले बोस्निया एन्ड हर्जेगोभिनासँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो दिन आज दुई रोमाञ्चक खेल हुँदैछन्। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै विजयी सुरुआत गरेको थियो।

दोस्रो दिन आयोजक राष्ट्र क्यानडा र अमेरिका मैदानमा उत्रने तयारीमा छन्। समूह ‘बी’ अन्तर्गत क्यानडाले बोस्निया एन्ड हर्जेगोभिनासँग प्रतिस्पर्धा गर्नेछ। यो खेल क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्ड (टोरन्टो स्टेडियम) मा हुनेछ। खेल नेपाली समयअनुसार शनिबार बिहान १२:४५ बजे सुरु हुनेछ।

त्यसैगरी, समूह ‘डी’ अन्तर्गत आयोजक अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ। अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियम (लस एन्जलस स्टेडियम) मा हुने उक्त खेल नेपाली समयअनुसार शनिबार बिहान ६:४५ बजे सुरु हुनेछ।

४८ टोली सहभागी रहेको विश्वकपमा कुल १२ समूह रहेका छन्। प्रतियोगिताको समूह चरणका खेलहरू जुन २७ सम्म सञ्चालन हुनेछन्।

विश्वकप : अर्को कीर्तिमानको मेसोमा ‘मेसी’

काठमाडौं। विश्व फुटबलमा केही यस्ता ऐतिहासिक नाम छन्। जसले खेललाई खेलको सीमाभित्र राखेनन्, बरु एउटा युगको रूपमा स्थापित गरे।

अर्जेन्टिनाका कप्तान लियोनेल मेसी त्यस्तै ऐतिहासिक नाम हुन्। जसले दुई दशकभन्दा लामो करिअरमा असम्भवजस्तै लाग्ने उपलब्धिहरू हासिल गर्दै आफूलाई सर्वकालीन महान् खेलाडीहरूको अग्रपंक्तिमा उभ्याएका छन्। अब, फिफा विश्वकप २०२६ मा उनी फेरि एकपटक इतिहासलाई चुनौती दिन तयार छन्।

सन् २००६ मा जर्मनीमा भएको विश्वकपबाट यात्रा सुरु गरेका मेसी अहिले आफ्नो छैटौं विश्वकप खेलिरहेका छन्। विश्व फुटबलमा यति लामो समयसम्म उच्च स्तरको प्रदर्शन कायम राख्नु आफैँमा दुर्लभ उपलब्धि हो। पाँच विश्वकप पार गरिसकेका मेसीले हालसम्म विश्वकपमा २६ खेल खेलिसकेका छन्, जुन प्रतियोगिताको इतिहासमै सर्वाधिक हो। उनले यसअघि जर्मनीका महान् खेलाडी लोथार म्याथाउसको २५ खेलको कीर्तिमान तोडिसकेका छन्।

तर मेसीको यात्रा केवल खेल संख्या बढाउनेमा सीमित छैन। उनी विश्वकप इतिहासका सबैभन्दा प्रभावशाली कप्तानमध्ये एकका रूपमा स्थापित भइसकेका छन्। विश्वकपमा कप्तानका रूपमा सर्वाधिक १९ खेल खेल्ने कीर्तिमान पनि उनकै नाममा छ। सन् २०१० देखि अर्जेन्टिनाको नेतृत्व सम्हाल्न थालेका उनले लगातार तीन विश्वकपमा टोलीलाई अगुवाइ गरेका छन्।

विश्वकपमा मेसीको प्रभाव केवल नेतृत्वमा मात्र देखिँदैन। उनले प्रतियोगितामा १३ गोल गरिसकेका छन् र विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताहरूको सूचीमा शीर्ष स्थान नजिक छन्। जर्मनीका मिरोस्लाभ क्लोजेको नाममा रहेको १६ गोलको कीर्तिमानभन्दा उनी केवल तीन गोलले पछाडि छन्। विश्वकप २०२६ मा अर्जेन्टिना लामो यात्रा गर्न सफल भएमा मेसीले यो कीर्तिमानसमेत तोड्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्।

मेसीको विश्वकप यात्रा उतारचढावले भरिएको छ। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा उनले अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याए पनि जर्मनीसँग पराजित भएपछि उपाधि सपना अधुरै रह्यो। त्यसपछि धेरैले उनको अन्तर्राष्ट्रिय करिअर समाप्तितर्फ उन्मुख भएको अनुमान गरेका थिए। तर मेसीले हार मानेनन्। उनले आफ्नो देशका लागि खेल्न जारी राखे र अन्ततः सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वविजेता बनाउँदै करिअरको सबैभन्दा ठूलो उपलब्धि हासिल गरे।

कतार विश्वकप मेसीका लागि केवल उपाधि जित्ने प्रतियोगिता थिएन। त्यो विश्व फुटबलले एक महान् खेलाडीलाई दिएको सम्मान थियो। प्रतियोगिताभर सात गोल गर्दै उनले कप्तानका रूपमा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसमेत बनाए।

उनको नाममा विश्वकपका अन्य थुप्रै उपलब्धिहरू पनि छन्। सर्वाधिक खेल, सर्वाधिक मिनेट, सर्वाधिक म्यान अफ द म्याच पुरस्कार तथा अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान मेसीकै नाममा रहेको छ।

फुटबल इतिहासमा धेरै महान् खेलाडीहरू जन्मिए। पेले, डिएगो म्याराडोना, जोहान क्रुइफ, जिनेदिन जिदान, रोनाल्डो नाजारियो र क्रिस्टियानो रोनाल्डोजस्ता नामहरू सधैं स्मरणीय रहनेछन्। तर मेसीको विशेषता के हो भने उनले व्यक्तिगत सफलता र टोलीको सफलतालाई एकैसाथ उच्चतम स्तरमा पुर्‍याउन सफल भएका छन्। सात पटकको बालोन डी’ओर विजेता मेसीले क्लब र देश दुवैका लागि लगभग सबै सम्भावित उपाधि जितिसकेका छन्।

विश्वकप २०२६ अर्जेन्टिनाका लागि उपाधि रक्षा गर्ने अवसर मात्र होइन, मेसीका लागि आफ्नो विरासतलाई अझ बलियो बनाउने अवसर पनि हो। अहिले ३९ वर्षको उमेर नजिक पुगेका मेसी सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिरहेका छन्। त्यसैले विश्वभरका फुटबल समर्थकहरूले यस प्रतियोगितालाई उनको ‘लास्ट डान्स’ का रूपमा पनि हेरिरहेका छन्।

यदि अर्जेन्टिनाले पुनः उत्कृष्ट प्रदर्शन गर्न सफल भयो भने मेसीका नाममा थप नयाँ कीर्तिमानहरू थपिने सम्भावना बलियो छ।