`

मसी प्रहारपछि महेश बस्नेतले भने–आक्रमणको प्रयास गम्भीर र निन्दनीय

काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले अलोकतान्त्रिक सरकारले पक्षपोषण गरेका मान्छेहरू अलोकतान्त्रिक र अराजनीतिक गतिविधिमा सक्रिय रहेको टिप्पणी गरेका छन् । बस्नेतले फरक विचार भए शान्तिपूर्ण कार्यक्रम गरेर व्यक्त गर्नुपर्ने र ढुंगा हान्ने, बाटो छेक्ने काम राम्रो नभएको बताएका छन् । उनले २३, २४ भदौको आन्दोलन यता जेन–जी युवाप्रति आक्रामक प्रतिक्रिया दिएका छन् र पञ्चायत, शाहीकाल र माओवादीकालसँग तुलना गरेका छन् ।

सुनसरीमा आयोजति युवा संघको कोशी जागरणसभामा सहभागी हुन त्यसतर्फ गइरहेका बेला सुनसरीमा दुई युवाले उनको गाडी रोकेर बेलुनमा भरिएको रातो छ्यापेको विषयमा प्रतिक्रिया दिँदै बस्नेतले यस्तो बताएका हुन् । ‘सरकार अलोकतान्त्रिक भएकाले यिनीले पक्षपोषण गरेका मान्छे पनि अलोकतात्रिक र अराजनीतिक गतिविधिमा नै लागेकै छन्,’ उनले भने, ‘यस्तो गतिविधि लोकतन्त्रको उपहास हो ।’ बस्नेतले शान्तिपूर्ण रूपमा राजनीतिक गतिविधि गर्न सबैले पाउने भन्दै फरक विचार भए शान्तिपूर्ण कार्यक्रम गरेर व्यक्त गर्नुपर्ने बताए ।

‘हाम्रो विरोधमा भाषण गर, नारा लगाऊ । ढुंगा हान्ने, बाटो छेक्ने काम राम्रो होइन । केही कुरा छन् भने शान्तिपूर्ण कार्यक्रम गरेर राखे भयो नि,’ बस्नेतले थपे, ‘ आज हामीले कार्यक्रम गर्दैछौं । विरोध नै गर्न मन भए भोलि त्यही ठाउँका शान्तिपूर्ण रूपमा अर्को सभा गरेर विरोध गरे भयो । ढुंगा हान्नु पर्दैन ।’ २३, २४ भदौको आन्दोलन यता जेन–जी युवाप्रति आक्रामक सुनिँदै आएका बस्नेतले पञ्चायतका, शाहीकाल र माओवादीकाल समेत समाना गरेर आएको प्रतिक्रिया दिए ।

 

पर्यटक भन्छन् : बन्दीपुरका पुराना घरले लोभ्यायो

दमौली (तनहुँ) । “बन्दीपुरको हावापानी र संस्कृति लोभलाग्दो रहेछ, पहिलोपटक आएकी मलाई बन्दीपुरले लोभ्यायो,” चितवनकी दीपा थापा मगरले भन्छिन् । बन्दीपुरका पुराना घरहरु, यहाँको स्थानीयवासीको सम्मानसहित बोल्ने परम्परा झनै राम्रो पक्ष रहेको उनको भनाइ छ ।

दोस्रो पटक बन्दीपुर आएकी चितवनकै प्रतिभा निउरे सापकोटाले पनि यहाँका पुराना घरहरुले आकर्षण थपेको बताएकी छिन् । उनले भने, “भक्तपुरे शैलीका घरहरु बन्दीपुरको आकर्षण हो ।”

मुस्ताङ भ्रमण गरेर बन्दीपुर आइपुगेका काठमाडौँका प्रदीप जङ्गले बन्दीपुर अन्य गन्तव्यभन्दा फरक लागेको बताए । बन्दीपुरको बजार राम्रो लागेको बताउँदै उनले थपे, “यसरी पुरानो घरहरु एकैठाउँमा देखेको थिइँन, नौलो लाग्यो ।”

चितवनबाट आएर बन्दीपुर एक रात बिताएकी आशिका पौडेलले यहाँ निर्माण रहेको मिनी ग्रेटवालले चीनकै ग्रेटवालको झल्को दिने बताईन् । उनले भनिन्, “हामीले बन्दीपुरमा हाइकिङ पनि ग¥यौ, बन्दीपुर उपयुक्त पर्यटकीय गन्तव्यस्थल रहेकाले साथीभाइलाई पनि घुम्न जान सुझाव दिन्छु ।”

पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला पर्यटकको चाप बढेको छ । विगत केही दिनदेखि बन्दीपुरमा पर्यटकको आगमन बाक्लिएको हो । बन्दीपुर आउने पर्यटकहरुले विभिन्न जातजातिका सांस्कृतिक पोशाकमा सजिएर टिकटक बनाउने, तस्बिर खिच्ने समेत गरेका छन् ।

बन्दीपुर होटल व्यवसायी सङ्घका उपाध्यक्ष सुजन श्रेष्ठले जेनजी आन्दोलनपश्चात् बन्दीपुरको पर्यटन लयमा फर्किएको बताएका छन् । पहिले शुक्रबार र शनिबारमात्रै पर्यटकको चाप हुने गरेपनि अहिले दैनिकजसो पर्यटकको चाप रहेको उनले बताए । उनले भने, “यो बेला भनेको विदेशी पर्यटक आउने बेला पनि हो । स्वदेशी पर्यटकको पनि उत्तिकै चहलपहल छ ।”

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुरमा दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने गरेको र त्यसमध्ये दुई÷तीन सयले बास बस्ने गरेको जानकारी दिएका छन् । उनका अनुसार बन्दीपुरमा ६६ होटल रहेको र एकदिनमा चार हजार बास बस्न सक्ने क्षमता छ ।

प्रधानले जेनजी आन्दोलनका क्रममा बुकिङ गरिसकेका पर्यटकले पनि बुकिङ रद्द गरेको बताउँदै थपे, “अहिले भने विदेशी भन्दा स्वदेशी पर्यटकको चाप बढेको छ । नेपाली पर्यटक दिनभर बन्दीपुरमा घुम्ने, रमाउने र फर्किने गरेका छन् । केहीले भने बन्दीपुरमै रात बिताउने गरेका छन् ।”

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरमा पर्यटकको बसाइ लम्ब्याउन बन्दीपुर भ्रमण वर्ष २०२५ सञ्चालन गरिएको जानकारी दिए । यहाँबाट विभिन्न हिमश्रृङ्खला आँखै अगाडी हेर्न सकिने भएकाले बन्दीपुर पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको थापाको भनाइ छ ।

विसं २०८१ सालमा दुई लाख पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमण गरेका थिए । त्यसमध्ये विदेशी पर्यटक ६० हजार र स्वदेशी पर्यटक एक लाख ५० हजार रहेको जनाइएको छ । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको तथ्याङ्क छ ।

खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा(मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

प्रधानमन्त्री कार्कीविरुद्धको मुद्दाको सकियो सुनुवाइ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा आजको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो । राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । तर, प्रधानमन्त्री कार्कीले उक्त आदेशको ठाडो अवज्ञा गर्दै राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशक दिएकी थिइन् । हाल ११ देशका राजदूतहरू परराष्ट्र मन्त्रालयमा हाजिर गरिरहेका छन् ।

अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता प्रतिभा उप्रेती, प्रेम सिलवाल, अनन्तराज लुइँटेल, विशाल थापाले सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, प्रधानमन्त्री कार्की र परराष्ट्र मन्त्रालयलाई रिट निवेदनमा प्रतिवादी बनाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाइएको हो ।

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

काठमाडौं।  धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो । त्यसैले चिया वा कफी धेरैको दैनिकीको अभिन्न अङ्ग बनेको छ । यसका फाइदा बेफाइदाका बारेमा विभिन्न अध्ययन अनुसन्धानहरू भएका छन् ।

विश्वका धेरै देशहरूमा चिया, कफीको सेवन निकै हुने गरेको छ । अझ जाडोको समयमा त यसको सेवन निकै नै हुने गर्दछ । नेपालमा पनि तराईदेखि हिमाली भेगसम्म यसको प्रयोग हुने गर्दछ । पछिल्लो समय कफीको प्रयोग गर्नेहरूको सङ्ख्या ह्वात्तै बढेको छ ।

नेपालमा चिया र कफी खेती पनि हुने भएकाले यसको प्रयोगलाई सामान्य रुपमा लिने गरिन्छ । यहाँ चिया र कफीको प्रयोग स्वास्थ्यका दृष्टिले कत्तिको लाभदायक छ भन्ने कुरा उल्लेख गरिएको छ ।

संसारभरि पानीपछि सबैभन्दा धेरै पिइने पेय पदार्थ चिया नै हो । हामीले धेरै थरी चिया पिउने गर्छौँ– दूध हालेको सेतो चिया, दूध र मसला दुवै हालेको मसला चिया, केही पनि नहालेको कालो वा हरियो चिया, आयुर्वेदिक जडीबुटी मिसिएको हर्बल चिया आदि । धेरैले चियामा चिनी हालेर पिउँछन्, कसै कसैले चिनी नहालेको चिया मन पराउँछन् ।

दूध–चिनी हाली आगोमा भकभकी उमालेर पकाएको चिया स्वादिलो हुने हुँदा धेरैको रोजाइमा पर्छ । स्वास्थ्यका जानकारहरूले यस्तो चियाले स्वास्थ्यमा हानि पुर्‍याउँछ भनी खबरदारी गर्छन् । यस्तो खबरदारीलाई ध्यानमा राखेर केही मानिसले चियामा दूध–चिनी केही पनि नमिसाई कालो चिया पिउने गर्छन् । कतिपयले त स्वास्थ्यलाई फाइदा गर्छ भनेर हरियो चिया मीठो नलागे पनि पिउने गर्छन् ।

कस्तो चिया फाइदाजनक ?

स्वास्थ्यका हिसाबले चिया सेतो, कालो या हरियो कुन फाइदाजनक छ भन्नेबारे धेरैलाई जान्ने उत्सुकता हुन्छ । हामीले दिनदिनै दुई–चार कप चिया पिएकै हुन्छौँ । हरियो र कालो दुवै चिया एउटै जातको ‘क्यामेलिया’ नामक वनस्पतिबाट उत्पादन हुने गर्छ ।

चिया बगानबाट चियापत्ती टिप्दा त्यो हरियो हुन्छ, त्यसलाई प्रशोधन गरेपछि त्यो कालो हुन्छ । हरियो चिया भनेको सबैभन्दा कम प्रशोधित चिया हो ।

चियाको पातलाई जति धेरै प्रशोधन गरिन्छ त्यति नै मात्रामा त्यसमा भएका गुणकारी तत्त्वहरू नष्ट हुँदै जान्छन् । यो हिसाबले कालोभन्दा हरियो चियालाई बढी स्वास्थ्यवद्र्धक मान्नुपर्छ ।

हरियो चियामा स्वास्थ्यवद्र्धक तत्त्व पोलिफिनोल र क्याटेखिन बढी पाइन्छ भने कालो चियामा यिनीहरूको मात्रा अलि कम हुन्छ तर क्याफिनको मात्रा बढी हुन्छ । क्याफिनले शरीरलाई उत्तेजित पार्ने, नशा लाग्ने कारणले त्यति राम्रो मानिदैन । चियामा भएको गुणकारी तत्त्वहरू पोलिफिनोल आदिले मुटु, हड्डी, पेट आदिलाई फाइदा गर्छ । यसले क्यान्सरको रोकथाममा पनि मद्दत पुर्‍याउँछ । मधुमेह, उच्च रक्तचापजस्ता समस्यालाई पनि कम गर्न सहयोग गर्छ ।

चियालाई धेरै बेर उमाल्यो, त्यसमा दूध र चिनी मिसायो भने पोलिफिनोल, क्याटेखिन आदि गुणकारी तत्त्वहरू निष्क्रिय भइदिन्छन् । यस कारण स्वास्थ्यका हिसाबले सोझो अर्थमा चिया कालोभन्दा हरियो राम्रो, दूध–चिनी हालेको भन्दा नहालेको राम्रो ।

हामीले पोलिफिनोल एन्टिअक्सिडेन्ट चियाबाटै किन लिनुपर्‍यो ? फलफूल, सागसब्जी, गेडागुडी, ड्राइफ्रुट्स आदिबाट प्रशस्त फाइबर र एन्टिअक्सिडेन्ट पाउन सक्छौँ । यी चिजहरू खाए भइहाल्यो नि ! चियाको स्वाद बिगारी–बिगारी टर्रो चिया नै किन पिउनपर्‍यो !

कोक, फन्टा, स्प्राइट, रेडबुलजस्ता पेय पदार्थहरू पिउनुभन्दा आगोमा भकभकी उमालेको दूध–चिनी हालेको चिया नै बढी फाइदाजनक हुन्छ । यस्तो चिया दैनिक एक–दुई कप पिउँदा केही पनि हानि छैन । तर जसले दैनिक दुई कपभन्दा बढी चिया पिउँछ, उसले विचार पुर्‍याउनुपर्छ कस्तो चिया पिउने ? कति कप पिउने ? कुनबेला पिउने ? चिनी–दूध हाल्ने कि नहाल्ने ? भन्ने कुरा आफ्नो स्वास्थ्यअनुसार विचार गर्न सकिन्छ :

यदि तपाईँलाई मधुमेह रोग छ, रगतमा ट्राइग्लाइसेराइडको मात्रा धेरै बढेको (४०० भन्दा बढी नै) छ, शरीर मोटो छ भने चियामा चिनी नहाली पिउनुहोस् । तपाईँले हरियो चिया पिएको राम्रो ।

पेटको समस्या छ, पेट फुल्छ, पोल्छ, ग्यास्ट्रिक बढ्ने समस्या छ, डकार धेरै आउँछ, अमिल्युकी आउँछ भने चियामा दूध नहालेको राम्रो । यस्तो समस्या भएकाहरूले दूधबिनाको कालो या हरियो चिया पिउँदा राम्रो हुन्छ ।

तर तपाईँ चियाको असाध्यै पारखी हुनुहुन्छ, सेतो दूध हालेको चिया मन पराउनुहुन्छ भने खाली पेटमा नपिउनुहोस् । पहिले अलिकति पानी पिउनुहोस् अनि दूध हालेको चिया पिउनुहोस्, दैनिक एक कपभन्दा बढी सेतो चिया नपिउनुहोस् । चियामा अदुवा मिसाएर पकायो भने स्वाद पनि बढ्छ, पेटलाई फाइदा पनि हुन्छ ।

तौल घटाउने इच्छा छ भने दूध–चिनी नहालेको हरियो चिया दैनिक चार कपसम्म पिउनुहोस् । यसभन्दा धेरै पिउँदा हानि पुग्न सक्छ, विचार पुर्‍याउनुहोस् । तपाईँ स्वस्थ हुनुहुन्छ भने दैनिक दुई कपसम्म दूध–चिनी हालेर भकभकी पकाएको नेपाली चिया आनन्दपूर्वक पिउन सक्नुहुन्छ ।

चियामा रहेको पौष्टिक तत्त्व नष्ट भयो भनी चिन्ता नगर्नुहोस्, चियाको स्वादमा रमाउनुहोस् । तर दैनिक दुई कपभन्दा बढी यस्तो चिया नपिउनुहोस् । धेरै भयो भने यसमा भएको क्याफिनले नशा लाग्छ, उत्तेजित बनाउँछ, अनिद्रा गराउँछ, रक्तचाप बढाउँछ, मुटुको धड्कन बढाउँछ ।

यस कारण सावधानीका साथ चियाको मज्जा लिनुहोस् । चिया सेतो कि कालो पिउने भन्ने विषयमा धेरै नसोच्नुहोस् । तपाईँलाई जुन चियाको बढी स्वाद लाग्छ त्यही चिया पिउनुहोस् तर सावधान ! धेरै नपिउनुहोस् ।

कफीको नशा

चिया जस्तै कफीको स्वादमा रमाउने मानिस पनि विश्वमा धेरै छन् । धेरैलाई कफीको नशाबारे थाहा छैन । कफी र रक्सी दुवैमा नशा लाग्ने तत्त्व हुन्छ । कडा कफी पिउने बानी भएकाहरूलाई कफी र रक्सीमध्ये एउटा छोड्नुपर्दा उनीहरू रक्सी छोड्छन् ।

रक्सी छोड्न सक्ने तर कफी छोड्न नसक्ने भनेको रक्सीमाभन्दा पनि कडा नशा कफीमा छ भनी बुझ्नुपर्छ । चुरोटमा हुने निकोटिन र रक्सीमा हुने अल्कोहलले स्वास्थ्यमा गम्भीर असर पार्छ ।

रक्सी र चुरोटको लत बसेकाहरूले यो छोड्दा हात काम्ने, टाउको दुख्ने, छटपटी लाग्नेजस्ता समस्या देखा पर्छन् । यसलाई ‘विड्रअल इफेक्ट’ भनिन्छ । कफीको लत बसेकाहरूले कफी पिउन नपाउँदा यस्तै अवस्था उत्पन्न हुन्छ ।

संसारमा धेरै पिइने पदार्थहरूमध्ये एक हो कफी । विकसित राष्ट्रहरूमा आधा जनसङ्ख्याले कफी सेवन गर्ने गरेका छन् । त्यहाँ प्रत्येक दिन एक जनाले सरदर तीन कप कफी पिउने गर्छन् ।

कफीको उत्पादन भने सबैभन्दा बढी विकासोन्मुख राष्ट्रहरूमा हुने गरेको छ । कफीको खेती संसारका ७० भन्दाबढी देशमा गरिन्छ । सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश ब्राजिल हो । यो देशले संसारको कूल ३५ प्रतिशत कफी उत्पादन गर्दछ । नेपालमा पनि कफीको उत्पादन हुन्छ । नेपालमा पाल्पा र गुल्मीका कफीहरू प्रख्यात छन् ।

कति पिउने कफी ?

रक्सीमा इथानोल र चुरोटमा निकोटिन भएजस्तै कफीमा क्याफिन हुन्छ । यसमा एक प्रकारको लत वा नशा बस्छ । मान्छेले एक पटक पिएपछि फेरि पनि पिउँपिउँ जस्तो लाग्ने कारण यही हो । दुई चिया चम्चा धुलो कफी मिसाएको एक कप कफीमा सय मिलिग्राम क्याफिन हुन्छ ।

स्वास्थ्यका दृष्टिले दैनिक दुई सयदेखि चार सय मिलिग्रामसम्म क्याफिन पिउन सुरक्षित मानिन्छ । अर्थात् एक जनाले दुईदेखि चार कपसम्म दैनिक कफी पिउन सक्छन् । तर कफी पिउन हुने/नहुने भन्ने कुरा व्यक्तिको स्वास्थ्य स्थितिमा भर पर्छ ।

क्याफिन तत्त्व कफीमा मात्रै नभएर चकलेट, चिया, कोल्ड ड्रिङ्क्स र इनर्जी ड्रिङ्क्समा पनि पाइन्छ । इनर्जी ड्रिङ्क्स पिउँपिउँ लाग्ने कारण पनि क्याफिनको नशा लागेर हो । कफीले स्वास्थ्यमा असर पार्छ भन्ने कुरा विज्ञानले पनि पुष्टि गरेको छ ।

यसले दिमाग र मुटुमा असर पार्ने, मुटुलाई उत्तेजित बनाउने एवं पाचन प्रणालीमा पनि असर गर्छ । थोरै प्रयोगले खासै असर नगरे पनि, धेरै हुनेबित्तिकै पाचन प्रणालीमा असर पार्छ । दैनिक चार कपभन्दा बढी कफीलाई धेरै मान्नुपर्छ ।

कफी धेरै पिउँदा छटपटी हुने, चक्कर लाग्ने, हात काँप्ने, निद्रा नलाग्ने, मुटुको धड्कन बढ्ने, ब्लड प्रेसर बढ्ने, अपच हुनेजस्ता समस्या देखिन सक्छन् । धेरै भयो भने मृत्युसमेत हुन सक्छ । दिनमा ५० कपदेखि एक सय कपसम्म कफी पियो भने मृत्युसमेत हुन सक्छ । १० हजार मिलिग्राम क्याफिन शरीरमा पर्‍यो भने तत्काल मृत्यु हुनसक्छ ।

कुनै व्यक्तिलाई कफी शरीरमा पर्ने बित्तिकै आनन्द महसुस हुन्छ भने कतिपयलाई छटपटी हुन्छ । कसै कसैलाई अलिकति कफी पिउने बित्तिकै असर पर्छ, यसलाई कफीमा ‘सेन्सेटिभ’ भएको भनिन्छ ।

कफीमा सेन्सेटिभ भएकाहरूलाई थोरै कफीले पनि छटपटी गराउने, जीउ तातेर आउने, मुटु हल्लिने, निद्रा नपर्ने, अपच हुने, रक्तचाप बढ्ने, छिटो छिटो पिसाब लाग्नेजस्ता स्वास्थ्य समस्या उत्पन्न गराउँछ । मुटुको धड्कन खराब भएकाहरूले दैनिक एक कपसम्म कफी पिउनु सुरक्षित मानिन्छ ।

विज्ञानले भन्छ–एक कप कफी गर्भवतीहरूका लागि समेत सुरक्षित छ तर यसभन्दा बढी भएमा गर्भपात हुने वा कम तौल भएको बच्चा जन्मिने खतरा बढ्छ ।

१८ वर्ष उमेरमुनिका र गर्भवती महिलाले कफी नपिउँदा बेस हुन्छ । आफ्नो स्वादअनुसारको कफी पिउने गर्नुहोस् । कालो, दूध–चिनी नहालेको ‘ब्ल्याक’ अथवा ‘मिल्क विथ सुगर’, ‘कफी लाटे’, ‘अमेरिकानो’, ‘एक्सप्रेसो’, ‘क्यापुचिनो’ आदि जुन स्वादिलो लाग्छ, छानाछानी पिउने गर्नुहोस् । यसबाट स्वाद, सन्तुष्टि र सुस्वास्थ्य प्राप्त हुन्छ ।

कफीले स्वास्थ्यमा पार्ने असरबारे धेरै अनुसन्धानहरू भएका छन् । कफी सेवन नगर्नेहरूको तुलनामा कफी सेवन गर्नेहरू धेरै वर्ष बाँच्ने गरेको कुरा वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन् ।

दैनिक दुईदेखि चार कपसम्म कफी पिउनेहरूमा अरूको तुलनामा १६ प्रतिशतले मृत्युदर कम भएको पाइएको छ भने २१ प्रतिशतले हृदयघातबाट हुने मृत्यु घटेको पुष्टि भएको छ ।

हृदयघात भइसकेकाहरूका लागि पनि कफीको सेवन लाभदायी देखिन्छ । दैनिक दुईदेखि चार कपसम्म कफी पिउँदा यसले स्वास्थ्यमा राम्रो असर पार्छ ।

विज्ञानले के पनि भन्छ भने कफीले मधुमेह र मुटुरोगबाट बचाउन मद्दत गर्छ । दिमागसम्बन्धी रोग– ल्जाइमर्स, डिमेन्सिया र डिप्रेसन हुनबाट रोक्छ । पार्किन्सन्स रोग, लिभर सिरोसिस र क्यान्सर हुनबाट पनि धेरै हदसम्म रोक्छ । हिजोआज धेरै मानिसलाई कलेजोमा बोसो जम्ने रोग छ ।

यसलाई नन अल्कोहोलिक फ्याट्टी लिभर पनि भनिन्छ । यसलाई पनि कफीले घटाउँछ भन्ने वैज्ञानिक मान्यता छ । तर गर्भवती महिला र १८ वर्षमुनिका बालबालिकाले कफी नपिउँदा राम्रो हुन्छ । किनकी उनीहरूलाई कफीमा हुने क्याफिनले नकारात्मक असर पुर्‍याउँछ ।

त्यसैले भरसक आफ्नो शरीरको स्थितिलाई विचार गरेर कफी पिउँदा राम्रो हुन्छ । दूध र चिनी नहालेको ब्ल्याक कफी पिउँदा स्वाद, सन्तुष्टि र सुस्वास्थ्यसमेत पाउन सकिन्छ । (लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् )

नयाँ बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडक किनारमा तन्नमा बेरिएको अवस्थामा भेटिएको शव तेस्रो लिंगीको रहेको खुलेको छ । शनिबार दिउँसो फेला परेको उक्त तेस्रो लिंगीको रहेको खुले पनि सनाखत भने हुन सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले शवको सनाखत हुन नसक्दा थप अनुसन्धानमा समस्या भएको बताएका छन् ।

शव रहेको भन्ने सूचना आएपछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थल मुचुल्का गर्दा तन्नाले बरेर पोको पारिएको अवस्थामा शव भेटिएको थियो ।
शंकास्पद अवस्थामा शव भेटिएपछि हत्याको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । शव हतियारले काटेर टुक्रा पारेको अवस्थामा भने थिएन । सिंगो अवस्थामा शव भेटिएको छ । उक्त शव पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । तर अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।

राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु

काठमाडौँ । राष्ट्र शान्तिको पावन उद्देश्यसहित पशुपतिनाथमा रहेको शङ्कराचार्य मठमा श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु गरिएको छ ।

महेश सन्यास आश्रमका पीठाधीश स्वामी रमनानन्द गिरीको सत्सङ्कल्पमा उक्त श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु गरिएको हो । महेश संस्कृत गुरुकुलम देवघाटको आयोजनामा गरिएको उक्त महायज्ञ यही मङ्सिर १४ गतेसम्म सञ्चालन हुने गुरुकुलका अध्यक्ष रमणानन्द गिरीले जानकारी दिएका छन् ।

पशुपतिनाथले आफ्नो रुद्रस्वरूप ग्रहण नगरी शिवभाव/शान्तस्वरूप धारण गर्नुहोस् र राज्यमा शान्ति कायम होस् भन्ने पावन सङ्कल्पका साथ राधाकृष्णमय ब्रह्मतत्त्व (अभेदेन पशुपतितत्त्व)को उपासना गर्न सप्ताहव्यापी भागवत महायज्ञको आयोजना गरिएको अध्यक्ष गिरीले जानकारी दिएका छन् ।

भागवत महायज्ञको पूर्वसन्ध्यामा शङ्कराचार्य मठ पशुपतिमा पशुपतितत्त्व विमर्श तथा विद्वत्सभा आयोजनासमेत गरिएको छ । उक्त सभामा विद्वद्गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक शिक्षाध्यक्ष न्यायतन्त्रादीशास्त्रका विशिष्ट प्राध्यापक विद्यानाथ उपाध्याय, न्याय तथा वेदान्तदर्शनका मूर्धन्य प्रा डा दीर्घराज घिमिरे, वेदान्तदर्शन तथा धर्मशास्त्र पुराणादिका व्याख्याता प्राध्यापक भवानीप्रसाद खतिवडा, गुरुकुल प्रवर्द्धन समाजका अध्यक्ष तथा भागवतका कुशल प्रवक्ता आचार्य कपिलदेव सुवेदी, नेपाली भाषा साहित्यका कुशल समालोचक तथा संस्कृतका आधिकारिक विद्वान् प्रा डा ध्रुवप्रसाद भट्टराईलगायतका दर्जनौँ विद्वान व्यक्तित्वको सहभागिता तथा सयौँ अध्यात्मप्रेमी तथा सत्सङ्गानुरागीको उपस्थिति रहेको थियो ।

साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी

काठमाडौँ । साहित्य सन्ध्याको मासिक रुपमा हुने ४७०औँ शृङ्खलामा ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ र ‘साहित्यमा एआईको प्रयोग’ विषयमा परिचर्चाका साथै विशेष कविगोष्ठीको आयोजना गरिएको छ ।

भर्चुअलरूपमा सम्पन्न कार्यक्रममा प्रा डा मुकेश चालिसेले पाका नागरिकलाई बुढाबुढी भन्ने, हेलाँहोचो गर्ने र हिजोका मान्यतालाई निस्तेज गर्ने र ज्येष्ठ नागरिक भनेका अनुत्पादक हुन् भन्ने सोच प्रगतिशील हुन नसक्ने बताएका छन् । उनले वरिष्ठ साहित्यकारहरू गोकुल जोशी, हृदयचन्द्रसिंह प्रधान, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, श्यामप्रसाद शर्मा, शान्तदास, केवलपुरे किसान, नेत्रलाल अभागी आदिले दार्शनिक विचारमार्फत् समाज रूपान्तरणका लागि योगदान दिएको स्मरण गरेका छन् ।

‘साहित्यमा एआईको प्रयोग’ विषयमा चर्चा गर्दै सञ्चारकर्मी अजय शर्माले एआईले लामो कथा पनि सम्झने तथा शैली पनि ग्रहण गर्ने भए पनि सिर्जनात्मक मान्छेले नै लेखेको जस्तो चाहिँ हुन नसक्ने टिप्पणी गरेका छन् । कार्यक्रममा डम्बर पहाडी, विन्दु अधिकारी ढकाल, डा।कृष्ण सुवेदी, महेशराज खरेल, डा।राजेन्द्रप्रसाद अधिकारी, कृष्ण बाउसे, जयन्ती स्पन्दन, रामचन्द्र दाहाल, कुमार नेपाल, ओमप्रसाद कोइराला, गोपालकुमार मैनाली, डा।रामहरि लम्साल, दुर्गाप्रसाद अधिकारी भमरकोटे र त्रिलोचन जोशीले राचना वाचन गरेका थिए ।

वाचित रचनामाथि समीक्षा प्रस्तुत गर्दै साहित्यकार एवं पत्रकार यशोदा अधिकारीले कवितामा श्रम, पर्यावरण र समसामयिक राजनीतिक विषयसँग सम्बन्धित सृजनाहरूले हालैको जेनजी आन्दोलनलगायत विषयलाई सम्बोधन गरिएको बताएका छन् । सन्ध्याका अध्यक्ष राम विनयले स्रष्टाहरूले सबै वस्तुस्थितिको नजिकबाट मूल्याङ्कन गरेर सत्य र न्यायका पक्षमा आबाज बुलन्द गर्न आग्रह गरेका छन् ।

अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

भोजपुर । अलैँचीले मूल्य पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । यस वर्ष अलैँची प्रतिमन(४० किलोग्राम) रु ९८ हजारसम्ममा कारोबार भइरहेको टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टले जानकारी दिएका छन्।

केही वर्षयता अलैँचीले निरन्तर उकालो मूल्य पाउँदै आएकाले किसान खेती विस्तारमा झन् सक्रिय बनेको उनको भनाइ छ । यस वर्ष आफूले करिब साढे सात मन अलैँची उत्पादन गरेको उनले बताएका छन् । गाउँका कतिपय किसानले अझै मूल्य बढ्ने आशामा उत्पादन बिक्री नगरी घरमै भण्डारण गरेर राखेका छन् । “गाउँघरमै अहिले अलैँची रु ९८ हजारसम्ममा कारोबार भइरहेको छ”, किसान विष्टले भने, “कतिपय किसानले बिक्री गरिसके, केहीले भाउ अझै बढ्ला कि भनेर राखेका छन् । बजारमूल्यको प्रतीक्षा गर्दै बसेको अवस्था पनि छ ।”

टेम्केमैयुङ–५ चोलन्ती अलैँचीको राम्रो उत्पादन हुने क्षेत्रका रूपमा परिचित छ । यहाँका करिब ८०–९० घर किसानले व्यावसायिक रूपमा अलैँली खेती गर्दै आएका छन् । विगतको वर्षका तुलनामा यो क्षेत्रमा अलैँचीको उत्पादनमासमेत वृद्धि भएको अलैँची व्यावसायी महासङ्घका अध्यक्ष राजेश विष्टले बताएका छन् । मूल्य बढेसँगै किसान खेती विस्तारमा जुटेको उनले जानकारी दिएका छन्।

“समग्र अलैँची उत्पादन केही घटे पनि यो क्षेत्रमा भने गत वर्षको तुलनामा उत्पादन बढेको देखिन्छ”, अध्यक्ष विष्टले भने, “रोगकीराको समस्या केही देखिए पनि किसानको उत्साह कम भएको छैन । मूल्य बढेकै कारण खेती विस्तार गर्नेतर्फ सबैजना लागेको अवस्था छ ।”

कृषि ज्ञान केन्द्रले जिल्लामा अहिले करिब पाँच सय ९७ हेक्टर क्षेत्रमा अलैँचीखेती भइरहेको जनाएको छ । यहाँ प्रायः रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातका अलैँचीको खेती हुने गरेको केन्द्रले जनाएको छ । जिल्लाको चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ, वासिङथर्पु, तिम्मा, हेलौछा, गुप्तेश्वरलगायत स्थानमा अलैँचीखेती बढी हुने गरेको छ । यी क्षेत्रका किसानले उत्पादन, भण्डारण तथा बजार व्यवस्थापनमा अनुभव बटुलेका कारण अलैँची प्रमुख नगदेबालीका रूपमा स्थापित हुँदै गएको छ ।

अलैँचीले राम्रो मूल्य पाएका कारण गाउँघरमा आर्थिक गतिविधि पनि बढेको छ । परिवारको खर्च, स्वास्थ्योपचार, छोराछोरीको पढाइ तथा अन्य आवश्यकता पूरा गर्न अलैँची मुख्य आधार बनेको स्थानीय किसानहरू बताउँछन् । मल्य बढे पनि अलैँचीखेतीमा रोगकीरा, हावापानीको अनियमितता, बजार मूल्यमा हुने उतारचढावलगायतका समस्या भने कायम रहेको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्रका अनुसार रोग रोकथाम, प्रविधिमैत्री खेती, गुणस्तर सुधार र किसानको क्षमतावृद्धिका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन् ।

देउवाकै हस्ताक्षरमा दल दर्ता र टिकट, संस्थापनकै नेताहरु शेखरको दैलोमा

काठमाडौं । नेपाली कांग्रेसभित्र शीर्ष नेतृत्वको सक्रियता फेरि बढ्न थालेसँगै पार्टी महाधिवेशनको मिति र प्रक्रियालाई लिएर आन्तरिक रस्साकस्सी पनि चुलिएको छ । उपचारका लागि सिंगापुर गएका कांग्रेस सभापति शेरबहादुर देउवा फर्किएपछि पार्टी सञ्चालनमा पुनः कार्यकारी रूपमा उपस्थित हुने तयारीमा छन् ।

असोज २८ गते केन्द्रीय समिति बैठकमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएका थिए, जसअन्तर्गत हालसम्मका पार्टी बैठकहरू सञ्चालित भए पनि अब देउवा विस्तारै आफ्नो भूमिकामा फर्कन लागेका हुन् । यसैबीच कांग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको प्रक्रिया अघि बढाइरहेको छ । दल दर्तासँगै उम्मेदवारलाई दिने आधिकारिक टिकटमा कसको हस्ताक्षर रहने भन्ने विषयमा छलफल भइरहेका बेला सभापति देउवाकै हस्ताक्षर हुनेगरी दर्ता प्रक्रिया अघि बढाइएको केन्द्रीय कार्यालयले जनाएको छ । कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर नगर्ने सहमति भइसकेको र विगतको अभ्यासअनुसार नै टिकट वितरण हुने प्रवक्ता प्रकाशशरण महतले स्पष्ट पारे । संस्थापन पक्षले प्रतिनिधिसभाका टिकट समेत देउवाकै हस्ताक्षरमा वितरण गर्ने तयारी गरेको बताइन्छ ।

यता, पार्टी महाधिवेशनको मिति निश्चय नहुँदा संगठनभित्र असन्तोष बढेको छ । महाधिवेशन प्रक्रिया ढिलो गर्न खोजिएको आशंकाबीच संस्थापन पक्षमै रहेका २४ जना केन्द्रीय सदस्यले आइतबार इतर समूहका नेता डा. शेखर कोइरालासँग भेट घेराबन्दी गर्दै पुस मसान्तभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने सात बुँदे मागमा समर्थन गर्न आग्रह गरेका छन् । कोइरालाले पनि महाधिवेशनबारे निर्णय हुन ढिलाइ भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । विशेष महाधिवेशनमा जाने प्रयासले पार्टी फुट्ने जोखिम रहने चेतावनी दिंदै उनले नियमित महाधिवेशन नै पुसभित्र सम्पन्न गर्नुपर्ने अडान दोहोर्‍याए ।

उक्त भेटमा डा. मिनेन्द्र रिजाल, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, सञ्जय गौतमलगायत नेताहरूको उपस्थिति थियो । यसअघि ती २४ सदस्यले सभापति देउवा, कार्यवाहक सभापति खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरिसकेका छन् । अहिले पार्टीभित्र गगन थापा र महेन्द्र यादवले छुट्टाछुट्टै महाधिवेशन मिति प्रस्ताव गरेसँगै संगठनभित्र निर्णय प्रक्रिया झनै पेचिलो बन्दै गएको छ । दल दर्तादेखि टिकट वितरणसम्म सभापति देउवाको हस्ताक्षर प्रमुख बिन्दु बनेको र महाधिवेशनको मतभेद उच्च बिन्दामा पुगेको परिदृश्यले कांग्रेसभित्र आगामी केही हप्तासम्म राजनीतिक उथलपुथल रहन सक्ने देखिएको छ ।

 

रास्वपा काठमाडौंका सभापति विष्टले दिए राजीनामा

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन् । उनले पार्टीबाट राजीनामा नदिएको बताएका छन् । उनले पार्टी छोडेको नभई काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट राजीनामा दिएको जनाएका छन् ।

राजीनामाअघि आइतबार उनले जिल्ला कार्यसमितिको बैठक बोलाएका थिए । बैठकका सहभागीले राजीनामा नदिन दबाब दिएपछि रोकिएका उनले धेरै सोचविचार गरेपछि राजीनामा दिनु नै उपयुक्त ठानेको बताए । पार्टीको प्रचलनअनुसार बागमती प्रदेश समितिमा राजीनामा बुझाएको विष्टले बताए । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको तर्फबाट काठमाडौं– १० बाट उम्मेदवार थिए ।

एमाले नेता महेश बस्नेत चढेको गाडीमा जेनजीको ‘आक्रमण’

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत चढेको गाडीमा जेनजी युवाहरूले रातो रङ छ्यापेका छन् । युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा युवाहरूले बस्नेत सवार गाडी रोकी रातो रङ छ्यापेर ‘आक्रमण’ गरेका हुन् । बस्नेतले विराटनगरबाट सुनसरी जाने क्रममा दुई जना युवाहरूले आफूहरू चढेको गाडीमा बेलुनमा रङ भरेर छ्यापेको जनाएका छन् ।

उनीहरूले बस्नेतविरुद्व नाराबाजी गरेका थिए । उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको मोरङकी डीएसपी कोपिला चुडालले बताइन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– २ का १९ वर्षीय अर्पित कुँवर र १ नम्बर वडाका २५ वर्षीय सञ्जोग गौतम छन् । इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानका लागि बस्नेत काठमाडौंबाट बिहान आएका हुन् । बस्नेत कार्यक्रमस्थल इटहरीतर्फ लागि सकेका छन् । अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे लेखेकी छन् । ‘महेश बस्नेत विराटनगर जाँदै गर्दा एक १७ वर्षे युवाले उनको गाडीमा रातो रङ्ग फ्याकेका छन् । युवाको बुझाइ स्पष्ट छ सहिदलाई ‘आतंककारी’ मान्ने को हातमा नै रगत छ’, राउतले लेखेकी छन्, ‘राज्यले यस्तो भड्किलो अभिव्यक्ति रोक्न सकेन, न्याय दिन सकेन, जिम्मेवारी लिन सकेन भने त्यो नै आजको आक्रोश को मूल कारण बन्नेछ ।’ सरकारले गर्न सकेन भनेर युवाले सडक तताउने दिन कम्तीमा नागरिक सरकार भएको बेला आउन नहुने उनले बताइन् । केही दिनअघि बस्नेत सिमरा जान खोज्दा समेत अवरोध भएको थियो ।

 

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बढ्दो माग र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ४४ हजार ६०० निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन रु दुई लाख ४१ हजार ७०० मा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १३५ कायम भएको छ । त्यति नै परिमाणको चाँदी शुक्रबार रु तीन हजार १०० मा खरिद बिक्री भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३ र त्यति नै चाँदी ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

रेखाखोलामा शव फेला, दुई जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ । अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोला नजिकै बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले गए राति फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । राति कानुनी प्रक्रिया सम्पन्न गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताए ।
घटनासम्बन्धी अनुसन्धानका क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई प्रहरी नियन्त्रणमा लिइएको छ । दुवै जनामाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

आठ पार्टीले गरे राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता, कांग्रेसको बाँकी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने आज (आइतबार) अन्तिम दिन हो । मंसिर १ गतेदेखि एक साताको समय दिएर निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको थियो । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने तय छ । आउँदो फागुन २० गतेदेखि राष्ट्रिय सभाका एक तिहाइ पद रिक्त हुँदैछ । राष्ट्रिय सभाका अध्यक्ष दाहालको पनि आउँदो फागुनबाट कार्यकाल सकिन्छ । रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म ८ दलले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी, केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा (एमाले), उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले दल दर्ता गरेका छन् । त्यस्तै नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी, विश्वेन्द्र पासवान नेतृत्वको बहुजन शक्ति पार्टी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सिके राउत नेतृत्वको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका छन् ।

नेपाली कांग्रेसले आइतबार दल दर्ता गर्ने तयारी गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले चुनावमा जाने निर्णय गरेको थियो । राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार दल दर्ता गर्ने निर्णय पनि भएको थियो । प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न भने मंसिर १० गतेसम्मको समय दिइएको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि शुक्रबार रातिसम्म ४० वटा दल दर्ता भएका छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका मेयर-उपमेयर र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष मतदाता रहने छन् ।

 

कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

धनुषा । धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । आइतबार बिहान धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१– ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिँदा

मिथिला नगरपालिका– १ कि ५५ वर्षीया सुमित्रा देवी महतोको मृत्यु भएको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बहादुर बमले कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उनका श्रीमान ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको जनकपुरको प्रादेशिक अस्पतालमा उपचार भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि महोत्तरीको बर्दिबास अस्पताल पठाइएको छ । ठक्कर दिने कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सूर्यविनायक–धुलिखेल सडक निर्माणलाई तीब्रता दिन मन्त्री घिसिङको निर्देशन

काठमाडौं । अरनिको राजमार्गको महत्वपूर्ण खण्ड मानिने सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार आयोजनाले ५० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । सडक सीमा विवाद र बजेट अभावका बीच सुस्त बनेको आयोजनाले पछिल्लो समय गति लिएको हो ।

शनिबार आयोजनाको स्थलगत अनुगमन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गर्न कडा निर्देशन दिएका छन् । कुल १५.८ किलोमिटर लामो यो सडकलाई ६ लेनमा विस्तार गर्न दुईवटा प्याकेज बनाएर काम भइरहेको छ । आयोजनाका अनुसार सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डमा ४५ प्रतिशत काम सकिएको छ । यस्तै, साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर खण्डमा भने ५५ प्रतिशत प्रगति हासिल भएको छ ।
सडक विस्तारको मुख्य चुनौती मानिने टेवा पर्खाल र नाली निर्माणको काम ९५ प्रतिशत सम्पन्न भइसकेको छ भने साँगा–धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे समेत भइसकेको छ । अनुगमनका क्रममा मन्त्री घिसिङले सडक विभागका महानिर्देशक,

आयोजना प्रमुख र निर्माण व्यवसायीहरूसँग छलफल गर्दै अहिले काम गर्नका लागि मौसम सबैभन्दा उपयुक्त रहेकाले कुनै बहाना नबनाउन आग्रह गरे । ‘काम गर्ने सिजन यही हो, जनशक्ति र उपकरण थपेर निर्माणलाई युद्धस्तरमा अघि बढाउनुहोस्,’ मन्त्री घिसिङले भने, ‘निर्णय गर्नुपर्ने कुनै विषय बाँकी भए तत्काल टुंग्याऔं, तर आगामी असारभित्र सडक विस्तार सकिनुपर्छ ।’

उनले अर्थ मन्त्रालयबाट बजेटको सुनिश्चितता भइसकेकाले अब आर्थिक अभावका कारण काम नरोकिने स्पष्ट पारे । चालु आर्थिक वर्षका लागि आयोजनामा ७० करोड रुपैयाँ मात्र विनियोजन भए पनि आयोजनाले करिब ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ । विगतमा सडक सीमा विवाद र घरटहरा हटाउने समस्याले आयोजना प्रभावित भएको थियो । विशेष गरी बनेपा बजार क्षेत्रमा देखिएको सडक विस्तारको जटिलता फुकाउन मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग छलफल गरेका छन् । उनले स्थानीयस्तरमा देखिएका समस्या समाधानमा सहजीकरण गरिदिन नगर प्रमुखलाई आग्रह समेत गरेका छन् ।

 

छानविन आयोगको नजर अब निवर्तमान प्रधानमन्त्री र गृहमन्त्रीमा

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २३ र २४ मा भएको हिंसक घटनाका बारेमा बनेको उच्चस्तरीय छानबिन आयोग अन्तिम चरणतिर पुगेसँगै अब अनुसन्धानको केन्द्रबिन्दु तत्कालीन राजनीतिक नेतृत्वमा पुगेको छ । आयोगले अब निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी पूरा गरिसकेको छ । अनि यही चरणलाई सबैभन्दा संवेदनशील मानिएको छ ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा असोज ५ गते गठन भएको आयोगले अहिलेसम्म मुख्य सचिवदेखि डीआईजी तहका अधिकारीहरूसम्मका बयान सकाइसकेको छ । फिल्डमा खटिएका जवानदेखि आदेश दिने कमाण्डरसम्म तहगत अनुसन्धान गरेर अब आयोग ‘हाइप्रोफाइल’ नेतृत्वतर्फ उक्लिएको अध्यक्ष कार्की बताउँछन् । आयोगसँग करिब एक महिना मात्र बाँकी छ । त्यसैले आगामी दुई साताभित्रै उच्च राजनीतिक तथा सुरक्षा नेतृत्वसँग बयान लिने कार्यसूची बनिसकेको छ ।

छानबिनको प्रारम्भिक चरणमा प्रहरी प्रधान कार्यालयबाट विवरण आउन ढिलाइ भएपछि तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङलाई अवहेलनाको चेतावनी दिँदा मात्र विवरण उपलब्ध भएको आयोगले जनाएको छ । त्यस्तै, राष्ट्रपति कार्यालय र सिंहदरबारजस्ता संवेदनशील संरचना आक्रमणमा परेको अवस्थामा नेपाली सेनाले किन सक्रिय भूमिका नखेलेको भनेर पठाइएको पत्र दुई सातादेखि जंगीअड्डाले बेवास्ता गर्दै आएको आयोग स्रोत बताउँछ । नख्खु कारागार तोडफोड तथा बन्दी बाहिरिएको घटनाप्रति आयोगले छुट्टै चासो देखाएको छ । यही क्रममा कारागार प्रमुख सत्यराज जोशी तथा त्यतिबेला थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेसँग आयोगले बयान लिइसकेको छ ।

आयोगले ओली र लेखकसहित ६ शीर्ष पदाधिकारीको विदेश भ्रमण रोक्का गर्न तथा उपत्यका नछोड्न सरकारलाई सिफारिस गरिसकेको छ । तर ओलीले आयोगलाई नै ‘असंवैधानिक’ भन्दै खुलेर असहयोगको संकेत दिँदै आएका छन् । सर्वोच्चमा समेत आयोग अस्वीकार गर्ने संकेत दिएका ओलीको बयान लिनु आयोगका लागि सबैभन्दा चुनौतीपूर्ण मोड हो । आयोगका सदस्यहरू भने कानुनले दिएको अधिकार प्रयोग गरेर ‘पत्र काटेरै बोलाउने’ तयारीमा छन् । बयान नदिए ऐनअनुसार कारबाही सिफारिस हुनसक्ने उनीहरूको चेतावनी छ । अब आयोगले तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी, एआईजी (हालका आईजीपी) दानबहादुर कार्की, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल लगायतका बयान प्रक्रियालाई अघि बढाउँदै छ ।

मुख्यसचिव एकनारायण अर्यालसँग आयोगले भर्खरै बयान लिएको छ, जसमा ओली सरकारपछिको संक्रमणकालीन सुरक्षा व्यवस्थापनबारे विस्तृत सोधपुछ भएको बताइएको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माले ६० प्रतिशत काम पूरा भइसकेको र अहिलेसम्म करिब ३ सय उजुरी दर्ता भएको जानकारी दिएका छन् । फोटो–भिडियो र अन्य प्रमाणका आधारमा संलग्नहरूको ‘क्रिमिनल प्रोफाइल’ विश्लेषण हुँदैछ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आयोगले चाहे म्याद थप सिफारिस गर्न सक्छ, तर अहिलेसम्म त्यस्तो आवश्यकता नदेखिएको बताइएको छ ।

यता नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरूलाई कुनै आयोगका नाममा बयान दिन बोलाएमा एक लाख कार्यकर्ता सिंहदरबार पस्ने चेतावनी दिएका छन् । नेशनल भोलेन्टियर फोर्स (एनभिएफ) को घोषणा सभालाई सम्बोधन गर्दै नेता बस्नेतले असंवैधानिक कार्की आयोगले बयानमा बोलाउने भन्दै बेला बेला हल्ला फिँजाएको बताएका थिए । त्यसो भएमा एक लाख मानिस सिंहदरबार प्रवेश गर्ने उनले चेतावनी दिए । ‘हामी भदौ २४ गतेका अराजकहरू जस्तो सिंहदरबार तोडफोड र आगजनी गर्दैनौं,’ बस्नेतले भने, ‘बरू फूलमाला लगाएर सुशीला कार्कीका मन्त्रीहरूलाई सिंहदरबाट बिदाइ गर्नेछौं । एक लाख जनताको उपस्थितिमा सिंहदरबार भित्रै आमसभा गर्छौं ।’

ठप्प छ नेपाल–चीन सीमाको केरुङ नाका (तस्वीरहरु)

काठमाडौं । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीका कारण केरुङ नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल र चीनबिचको मालसामान ढुवानी पूर्ण रूपमा बन्द भएको छ । बाढीमा धेरैले ज्यान गुमाए भने ट्रक र कन्टेनरहरू बाढीले बगाउँदा व्यापारीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नु पर्‍यो । बाढीका कारण नेपालतर्फका सयौँ ट्रक कन्टेनरहरू बगाएका र मितेरी पुल समेत बगाउँदा झन्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएको व्यापारीहरु बताउँछन् ।

नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड गरिएका कन्टेनरहरु बाढीपछि चीनतर्फ नै अड्किएका कारण पाँच महिना बितिसक्दा पनि ढुवानी सञ्चालन हुन सकेको छैन जसका कारण व्यवसायीहरूके आर्थिक सङ्कट झेली रहनु परेको छ ।
यसरी नाका क्षेत्र महिनौ देखि बन्द हुँदा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न समेत सकेको छैन । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनाका लागि १३ अर्ब ५३ करोड राजस्वको संकलन लक्ष्य रहेको थियो ।

बाढीले मितेरी पुल, भन्सार यार्ड तथा सडकमा क्षति पुर्‍याउँदा यस नाकाबाट पाँच महिनामा महिनामा झण्डै १४ अर्ब भन्दा बढी राजस्व गुम्न पुगेको छ । काठमाडौंबाट करिब १३२ किमिको दूरीमा पर्ने यो नाका राजस्व संकलनको हिसाबले देशको पाँचौ ठूलो भन्सार कार्यालयको रुपमा रहेको थियो । उत्तरी छिमेकी चीनतर्फको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकसित हुँदै गएको यो नाका ल्हेन्दे नदीमा आएको भीषण बाढीसँगै अहिले ठप्प छ । चीनतर्फबाट तत्कालका लागि पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने नेपालतर्फ अवरोध भयका सडकहरू खुली सकेको छ ।

तस्वीर : क्षितिज तामाङ /नेपाल फोटो लाइब्रेरी

आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आज (आइतबार) घोषणा हुँदैछ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम हुने नेता सुदन किराँतीले जानकारी दिएका छन् । कात्तिक १९ गते १० वटा वाम घटकहरू मिलेर नेपाली कम्युनिष्ट पार्टी घोषणा भएपछि जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्र परित्याग गरी प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए ।

पछि सन्तोष परियारले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका थिए । कात्तिक २८ गते बाबुराम भट्टराईको नेसपा (नयाँ शक्ति), जनार्दन शर्माको अभियान, सन्तोष परियारले एकताको सहमति गरेका थिए । सोही पार्टी आइतबार राष्ट्रिय सभाबाट घोषणा हुन लागेको हो । पार्टी घोषणा कार्यक्रमको अध्यक्षता सन्तोष परियारले गर्ने जनाइएको छ । दल निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

हुलाकी राजमार्ग धनुषा खण्ड : पुल निर्माणमा ढिलाइ

काठमाडौं । हुलाकी सडक योजना कार्यालय जनकपुरले ६१ मोटरेवल पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म १८ वटाको ठेक्का व्यवस्थापन गर्न सकेको छैन । हुलाकी सडकका पर्ने २२ निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको छ ।

हाल २१ पुल निर्माणको चरणमा छन् । पुल निर्माणको काम प्रभावकारी हुन नसक्दा स्थानीयले अपेक्षित लाभ हासिल गर्न पाएका छैनन् । सो आयोजनाअन्तर्गतका सडक कालोपत्रको अन्तिम चरणमा पुगेको भए पनि पुल निर्माणले गति लिनसकेको छैन । स्रोतको अभाव तथा अन्य प्राविधिक समस्याका कारण ठेक्का व्यवस्थापन हुन समय लागेको आयोजनाले जनाएको छ ।

निर्माणको क्रममा रहेका पुललाई शिघ्र सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक पहल गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सिरहा–धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन समस्याग्रस्त पुल निर्माणलाई तदारुकता दिन र तीन सिफ्टमा काम गर्न निर्देशन दिएका छन् ।

शुक्रबार स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले ठेक्का सम्झौता भएको १४ बर्ष पुग्दा समेत पुल मिर्नाण हुन नसकेको, पुन नबन्दा नागरिकले सास्ती खेप्नुपरेको भन्दै समस्या समाधान गर्न निर्देशन दिएका थिए । सोही क्रममा उनले हुलाकी सडकतर्फका सडक तथा पुल निर्माणको प्रगतिका बारेमा चासो राख्दै शीघ्र कार्यान्वयन गर्न आवश्यक निर्देशन दिएका छन् । ठेक्का व्यवस्थापन गर्नुपर्नेलाई तत्काल प्रक्रिया अगाडि बढाउन र निर्मााणका क्रममा रहेका पुललाई शीघ्र निर्माण गर्न मन्त्रालयले आवश्यक तदारुकता देखाएको छ ।

हुलाकी सडक आयोजना, जनकपुर खण्डको कुल चार सय तीन किलोमिटरमध्ये अब ६१ किलोमिटर खण्डमात्र कालोपत्र गर्न बाँकी रहेको छ । सो खण्डका काम धमाधम भइरहेको र कुनै अवरोध नभएका खण्डमा चालु आवको अन्त्यसम्म एउटा चरणमा पुर्‍याउन सकिने आयोजनाले जनाएको छ ।

सो योजना कार्यालयअन्तर्गत पूर्वपश्चिम तथा उत्तरदक्षिण गरी चार सय तीन दशमलव ६८ किलोमिटर सडक रहेको छ । त्यसमा दुई सय ९९ दशमलव ८० किलोमिटर नेपाल सरकारको बजेटबाट निर्माण भएको हो भने एक सय तीन दशमलव ८८ किलोमिटर सडक भारतीय अनुदान रहेको छ । हालसम्म तीन सय ४२ दशमलव ६८ किलोमिटर सडक कालोपत्र भइसकेको योजना प्रमुख कृष्णकुमार महतोले जानकारी दिए ।

सिरहाको बलान कमला सडक (२९ दशमलव ९८ किलोमिटर) कालोपत्र भइसकेको छ । सिरहाको जम्दह लगडी गडियानी (२७ दशमलव ४६ किलोमिटर) सडक भने कालोपत्र हुनसकेको छैन । धनुषाको कदमचौक कपतौल तीनकौरिया (३० दशमलव ५८ किलोमिटर) मध्ये २४ किलोमिटर कालोपत्र भएको छ । धनुषाकै यदुकुहा खजुरी महुवा सडक १० किलोमिटरमध्ये छ किलोमिटर कालोपत्र भएको छ । धनुषा र महोत्तरीको जनकपुर बसबिटी हर्दी पोखरी भिण्डा सङ्ग्रामपुर सडकको २० किलोमिटरमध्ये १८ किलोमिटर कालोपत्र भएको छ ।

सर्लाहीको एमआरएम बाँके सङ्ग्रामपुर सडकको (२२ दशमलव ४८ किलोमिटर) मध्ये २० दशमलव ७७ किलोमिटर कालोपत्र भएको छ । सोही जिललको फुलजोर त्रिभुवननगर २३ दशमलव दुई किलोमिटर पूरै कालोपत्र भएको छ । सर्लाहीकै सितलपुर मलङ्गवा खरैैइयाटोल (पूर्वपश्चिम हुलाकी) सडकको (४० दशमलव ३७ किलोमिटर) मध्ये ३८ किलोमिटर कालोपत्र भएको छ ।

सर्लाहीको नवलपुर–मलङ्गवा सडकको (२६ दशमलव ५९ किलोमिटर) नै कालोपत्र भएको छ । सोही जिल्लाको नयाँरोड–वरहथवा–मधुवनीको ४० दशमलव ५८ किलोमिटर नै कालोपत्र भएको छ । सो जिल्लाको गोडैता–महिनाथपुर–माधोपुर–जयनगर हनैर्या खण्डको १० किलोमिटर नै कालोपत्र हुन बाँकी रहेको छ ।

भारतीय अनुदानतर्फको धनुषा खण्डको वीरेन्द्रबजार–यदुकुहा–महिनाथपुर सडकको (३२ दशमलव ३१ किलोमिटर)मध्ये ३१ किलोमिटर कालोपत्र भएको छ । जनकपुर–यदुकुहा सडकको (१६ दशमलव ६३ किलोमिटर) मध्ये १२ किलोमिटर कालोपत्र भएको छ । माईस्थान–गौशला सम्सी सडकको (२६ दशमलव ९४ किलोमिटर) मध्ये २६ किलोमिटर कालोपत्र भएको आयोजनाले जनाएको छ ।

यस्तै जलेश्वर–हर्दी सडकको २८ किलोमिटर नै कालोपत्र भएको छ । सो आयोजनाका लागि चालु आवको असोज मसान्तसम्म रु सात करोड नौ लाख बराबर खर्च भएको छ । हुलाकी सडक तथा पुल निर्माणका लागि रु ५९ करोड ९० लाख बजेट विनियोजन भएको छ । जग्गा खरिद, सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने संरचनाको क्षतिपूर्तिका लागि रु पाँच करोड बजेट विनियोजन भएकामा रु एक करोड तीन लाख ९० हजार खर्च भएको छ ।

विराटनगर किंग्सको लगातार दोस्रो जित, काठमाडौं गोर्खाजको दोस्रो हार

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले उत्कृष्ट लय कायम राख्दै लगातार दोस्रो जित दर्ता गरेको छ।आज (शनिबार) जारी खेलमा काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गर्दै विराटनगर अंकतालिकामा मजबुत बन्दै गएको छ । काठमाडौँ भने लगातार दोस्रो हारको सामना गर्दै दबाबमा परेको छ ।

शनिवार त्रिवि क्रिकेट मैदानमा काठमाडौँले प्रस्तुत गरेको १३५ रनको मध्यम लक्ष्य विराटनगरले १७.१ ओभरमै पाँच विकेट गुमाउँदै हासिल गर्‍यो । प्रारम्भिक आक्रमक ब्याटिङ प्रदर्शनसँगै जित सहज बन्यो । विराटनगरका लागि जर्ज मुन्सी चम्किए । उनले १६ बलमा पाँच चौका र दुई छक्कासहित ३६ रन प्रहार गर्दै टिमलाई विजयी अवस्थामा पुर्‍याए । थप रुपमा मार्टिन गप्टिलले २५, नरेन भट्टले २४, बसिर अहमदले १९ तथा लोकेश बमले १४ रनसँग योगदान दिए ।

काठमाडौँका बलरमध्ये शहाब आलम सर्वाधिक सफल रहे । उनले दुई विकेट निकाले । करण केसी, सन्तोष यादव र गेहार्ड इरसमसले एक–एक विकेट बटुले । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो भने काठमाडौँले पहिले सुदूरपश्चिम रोयल्ससँग पराजय भोगेको थियो । पहिलो खेल जितेको काठमाडौँका दुई अंक यथावत छन् । अब सोमबार दुई खेल हुँदैछन् । बिहान ११ः४५ बजे विराटनगर किंग्स जनकपुर बोल्ट्ससँग भिड्नेछ भने दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् ।

एमाले लक्षित कांग्रेसको टिप्पणी : उत्तेजना फैलाउने काम वाञ्छनीय हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेलाई लक्षित गर्दै उत्तेजना फैलाउने काम वाञ्छनीय नहुने टिप्पणी गरेका छन् ।केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसले अब शान्तिको नेतृत्व गर्ने बताए ।

उनले भने, ‘केही राजनीतिक दल र समूहको तर्फबाट जबरजस्ती उत्तेजना फैलाउने, थप कतै प्रतिशोध र निषेधको भाव फैल्याउने काम भएको छ । देशलाई थप हिंसातर्फ लिएर जाने प्रवृत्तिहरू देखापरेका छन् । यस्ता गतिविधि जुन दल र समूहबाट भए पनि यो गलत छ भन्ने हाम्रो ठहर छ । हामी यसको विरुद्धमा हामी उभिन्छौं ।’

उनले एमालेलाई लक्षित गर्दै कुनै घृणा र उत्तेजनताको भाषा प्रयोग नगर्न आग्रह समेत गरेका छन् । राजनीतिक दलहरूले आफ्नो गतिविधि गर्न कुनै अवरोध हुन नहुने समेत बताए ।

एउटै विद्यालयबाट ३०० जनाभन्दा बढी विद्यार्थीको अपहरण

नाइजेरिया । नाइजेरियाको उत्तर–मध्य क्षेत्रमा रहेको नाइजर राज्यको एक निजी क्याथोलिक विद्यालयबाट ३०० जना विद्यार्थी अपहरणमा परेका छन्।

हतियारधारी डकैती समूहले शुक्रबार सेन्ट मेरिज स्कुलबाट तीन सयभन्दा बढी विद्यार्थीलाई अपहरण गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। क्रिश्चियन एशोसिएसन अफ नाइजेरियाका अनुसार अपहरण पर्नेमा ३०३ जना विद्यार्थी र १२ जना शिक्षक छन्।

विद्यार्थीहरू १० देखि १८ वर्ष उमेरका छन्। केही विद्यार्थीहरू भाग खोजे पनि उनीहरूलाई भाग्दा भाग्दै अपहरणकारीले नियन्त्रणमा लिएका थिए।

घटनापछि संघीय तथा प्रदेश सरकारद्वारा सञ्चालित उत्तर नाइजेरियाका केही विद्यालयहरू तत्कालका लागि बन्द गरिएका छन्।

संघीय राजधानी अबुजासँग सीमा जोडिएको नाइजर राज्यमा भएको यो अपहरणको केही दिन अघि छिमेकी क्वारा राज्यमा चर्चमाथि भएको बन्दूकधारी आक्रमणमा दुई जनाको मृत्यु भएको थियो।

त्यही हप्तामा उत्तर–पश्चिमी केब्बी राज्यमा एक छात्रावासमा छिरेर सशस्त्र समूहले २५ छात्रालाई अपहरण गरेको र उप–प्राध्यापकलाई गोली हानी हत्या गरेको घटना पनि सार्वजनिक भएको छ।

नाइजर राज्य सरकारले सेंट मेरीज स्कुलमाथिको हमलाको कठोर शब्दमा निन्दा गरेको छ भने स्थानीय प्रहरीले अपहरित विद्यार्थीहरूको उद्धारका लागि सुरक्षाकर्मी जंगल क्षेत्रमा खोजतलासमा रहेको जानकारी दिएको छ।

नाइजेरियामा पछिल्ला वर्षहरूमा फिरौतीका लागि अपहरण, साम्प्रदायिक तथा जातीय द्वन्द्व, किसान–गोठाला विवाद र चरमपन्थी समूहका क्रियाकलापले व्यापक असुरक्षा बढाएको छ। क्रिश्चियन तथा मुस्लिम दुवै समुदाय चरमपन्थी हमलाका शिकार बनेको तथ्य विभिन्न प्रतिवेदनमा उल्लेख छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियालाई ‘कन्ट्री अफ पार्टिकुलर कन्सर्न’ घोषणा गर्दै धार्मिक स्वतन्त्रता गम्भीर रूपमा उल्लंघन भएको दाबी गरेका छन्।

माछा मार्न गएका रामकुमार ताजपुरियाको मृत्यु

सुरुङ्गा ।माछा मार्न गएका गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको छ । खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा ताजपुरियाको करेन्ट लागेर ज्यान गएको हो ।

आफ्ना श्रीमान् करेन्ट लागेर खोलामा ढलेको पत्नी फूलकुमारीले तत्काल स्थानीय र प्रहरीलाई खबर गरेकी थिइन् ।

मोरङमा ४४ हजार नयाँ मतदाता थपिए

मोरङ। यहाँ ४४ हजार ३११ नयाँ मतदाता थपिएका छन् । यो मङ्सिर ५ गतेसम्म थपिएका मतदाताको सङ्ख्या हो ।

यहाँस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार १६ हजार ४१३ जनाले प्रदेशको निर्वाचन कार्यालय र २७ हजार ९८९ जनाले राष्ट्रिय परिचयपत्रका  माध्यमबाट नाम दर्ता गराएका हुन् ।

अब मोरङमा मतदाताको सङ्ख्या सात लाख ८६ हजार ६६ पुगेको छ । यसअघि यो जिल्लामा सात लाख ४१ हजार ७५५ मतदाता रहेका अभिलेख छ ।

 

ट्रम्पको २८ सूत्रीय शान्ति योजना : युक्रेनलाई २७ नोभेम्बरको समयसीमा

वासिङ्टन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको २८ सूत्रीय शान्ति योजनामा युक्रेनको प्रतिक्रिया प्राप्त गर्न नोभेम्बर २७ को कडा समयसीमा तोकेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले देश अत्यन्त कठिन निर्णयको मोडमा पुगेको र ‘गरिमा गुमाउने वा प्रमुख साझेदार गुमाउने जोखिम’ जस्ता चुनौतीपूर्ण विकल्प सामना गर्नुपर्ने बताएको केही घण्टामै ट्रम्पको यस्तो कदम सार्वजनिक भएको हो ।

शुक्रबार फक्स न्युज रेडियोसँग दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले वार्तामा सार्थक प्रगति देखिए मात्र समयसीमा केही लचिलो हुन सक्ने सम्भावना रहेको बताए।

उनले भने, ‘मेरो धेरैजसो विषयमा समयसीमा हुन्छ र यदि कामहरू सकारात्मक रूपमा अघि बढिरहेका छन् भने विस्तार गर्न सकिन्छ । तर नोभेम्बर २७ हामीलाई उपयुक्त समयजस्तै लागेको छ ।’

ट्रम्पले प्रभावकारी रूपमा राष्ट्रपति जेलेन्स्कीलाई पाँच दिनभित्र निर्णय गर्न बाध्य पारिएको संकेत पनि गरे। उनका कथन अनुसार, युक्रेनले आफ्नो गरिमा बचाउने कि प्रमुख सहयोगीको समर्थन गुमाउने भन्ने दुवै कठोर विकल्पबीच छ । साथै, उहाँले चेतावनी दिँदै युक्रेनले आफ्नो केही भूभाग तत्काल गुमाउने सम्भावना अझै कायम रहेको बताए ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जे। डी। भान्ससँगको फोन वार्तापछि राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत किएभ अमेरिकी तथा युरोपेली पक्षसँग राष्ट्रिय सुरक्षा सल्लाहकार तहमा सहकार्य गर्दै शान्तिको मार्ग खोज्न सहमत भएको जानकारी दिए ।

यसअघि टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले देश ‘सङ्कटको नयाँ चरण’ मा प्रवेश गरिरहेको उल्लेख गर्दै अत्यन्त कठिन विकल्पसहितको जटिल परिस्थितिको चेतावनी दिएका थिए ।

उनले भने, ‘युक्रेन अब अत्यन्तै चुनौतीपूर्ण निर्णयको घडीमा छ-या त गरिमा गुमाउने जोखिम, वा प्रमुख साझेदार गुमाउने भय । या त २८ बुँदे कठोर प्रस्ताव स्वीकार्ने, वा अर्को कठोर जाडो सहने ।’

ओभल अफिसमा पत्रकारहरूसँग बोल्दै राष्ट्रपति ट्रम्पले शान्तिको यथार्थवादी बाटो पहिचान भइसकेको दाबी गर्दै यो योजना अघि बढ्न जेलेन्स्कीको स्वीकृति अनिवार्य हुने पुनः दोहोर्‍याए ।

सिएनएनद्वारा उद्धृत उनका कथन अनुसार, ‘हामीसँग शान्ति हासिल गर्ने बाटो छ भन्नेमा विश्वास छ, तर युक्रेनी पक्षले यसलाई अनुमोदन गर्नुपर्छ । उनीहरू नजिकै आइरहेका छन् जस्तो लाग्छ, तर म अहिले नै भविष्यवाणी गर्न चाहन्नँ ।’

ट्रम्पद्वारा पुनरावलोकन भई समर्थन प्राप्त २८–बुँदे शान्ति प्रस्ताव वासिङ्टनले गत तीन वर्षदेखि अवरुद्ध भइरहेको शान्ति प्रक्रियालाई पुनर्जीवित गर्ने उद्देश्यले अघि सारेको पछिल्लो पहल हो । यसअघि रुसले पूर्ण कब्जा नजमाएका क्षेत्रमा क्षेत्रीय छुट दिनुपर्ने जस्ता केही प्रस्ताव किएभले अस्वीकार गरिदिएको थियो ।

यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार अमेरिकी योजनाबारे टिप्पणी गर्दै उक्त प्रस्ताव आफूले अलास्कामा ट्रम्पसँग भएको भेटमा छलफल गरेको पुरानो प्रारूपकै परिमार्जित संस्करण जस्तो देखिएको बताए।

सुरक्षा परिषद्को बैठकमा उनले भने, ‘अमेरिकी पक्षले केही सम्झौतामा सहमत हुन आग्रह गरेको थियो ।’

पुटिनका अनुसार मस्कोले एन्कोरेजमा प्रस्तुत गरिएका पहलहरू स्वीकार गरेको थियो, तर किएभले प्रस्ताव अस्वीकार गरेपछि प्रक्रिया रोकिएको थियो । रुसी पक्षले अद्यावधिक २८–बुँदे प्रस्तावको पाठ प्राप्त गरेको र त्यसलाई ‘विस्तृत रूपमा’ अध्ययन गर्न बाँकी रहेको समेत पुटिनले बताए।

‘मलाई विश्वास छ, यसले अन्तिम शान्ति सम्झौताको आधार बन्न सक्छ’, पुटिनले भनेका छन् ।

काठमाडौँले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य

काठमाडौँ । काठमाडौँ गोर्खाजले विराटनगर किंग्सविरुद्ध १३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को आज भएको दोस्रो खेलमा पहिले ब्याटिङ गरेको काठमाडौँले ६ विकेटको क्षतिमा १३४ रन बनायो। काठमाडौँका लागि मोहम्मद आदिल आलमले ४८ रन बनाए। उनले चार चौका र दुई छक्का प्रहार गरे।

त्यस्तै, बेन चार्ल्सवर्थले ३२, सन्तोष यादवले २६ र गेहार्ड इरसमसले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

विराटनगरका लागि मर्चेन्ट डि लाङगेले दुई, शुभम रञ्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिए।

 

सुदन गुरुङले आफ्नो घरमै गएर धम्की र ज्यानमाथि दागा धरेकाे एमाले नेता श्रेष्ठको आरोप

काठमाडौं । नेकपा एमालेका नेता किसान श्रेष्ठले ‘हामी नेपाल’ नामक संस्थाका प्रमुख सुदन गुरुङले आफ्नो घरमै गएर फेरि घर जलाउने धाकधम्की र ज्यानमाथि नै दागा धरेको आरोप लगाएका छन् ।

श्रेष्ठले शनिबार आफू पार्टी कामको सिलसिलामा काठमाडौंमा रहेका बेला गुरुङसहितका व्यक्तिहरू सिमरा–औराहास्थित आफ्नो घर पुगेर यस्तो धम्की दिएको आरोप लगाएका हुन् । २४ गते भएको आगजनीपछि पुनर्निर्माण कार्यमा व्यस्त रहेका कामदारलाई समेत गुरुङले डरत्रास सिर्जना गर्ने उद्देश्यले गाली–गलौज र धम्की दिएको आरोप उनले लगाएका हुन् ।

विज्ञप्ति जारी गर्दै श्रेष्ठले भनेका छन्, ‘लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाइएका घर पुनर्निर्माण गर्दै रहेका मेरा कर्मचारी–कामदारलाई धम्क्याउने, घर फेरि जलाइदिन्छु भन्ने धम्की दिने, तेरो नेतालाई पनि जे पनि हुनसक्छ भन्ने जस्ता अभिव्यक्तिप्रति गम्भीर आपत्ति गर्दछु ।’

श्रेष्ठले जेनजीको नाममा फैलिँदै गएको आतंक र अराजक गतिविधि तत्काल रोक्न सरकारसँग माग गरेका छन् । एमाले नेता श्रेष्ठले जेन–जीका नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकार समक्ष माग गरेका छन् । उनले ३ र ४ गते सिमरामा भएको प्रदर्शनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सेनाका खड्का र न्यौपानेलाई नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज । नेपाली सेनाका खडकबहादुर खड्का र पूर्णलक्ष्मी न्यौपानेले ११ औँ धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । शनिबार नेपालगन्ज भएको म्याराथनमा खडक दुई लाख नगद र पूर्णलक्ष्मी नगद ७५ हजारसहित ट्रफी, पदकले पुरस्कृत भएका हुन् ।

म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ सेकेन्डमा दुरी पुरा गर्दै देशकै सरल कोर्स मानिएको नेपालगन्जमा गत वर्षको रेकर्ड ब्रेक गर्न सफल भए ।

उनले लगातार दोस्रो पटक र समग्रमा नेपालगन्ज म्याराथनको विजेता ट्रफीमा ह्याट्रिक गरेका हुन् । यसमा नेपाली सेनाकै सुशीलकुमार शाहीले २ घण्टा १६ मिनेट ४० सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो स्थान हासिल गर्दा नगद रु एक लाख र पदकबाट पुरस्कृत भए ।

तेस्रो स्थानमा आउन सफल नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले २ घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दा पचास हजार नगद र पदकबाट पुरस्कृत भएका हुन् । यसमा त्रिभुवन आर्मीका विनोद रोकाय (२ः२०.३३) ले चौथो, एपीएफका राजन चौधरी (२ः३१.०६) ले पाँचौँ, सेनाका धनु मानन्धर (२ः३२.५०) ले छैटौँ स्थान हासिल गरे ।

त्यसैगरी यमराज खत्रीले (२ः५०.५५ घण्टा), सोम रावतले (२ः५७.४८ घण्टा) दिनेशजंग शाहीले (२ः५८.१९ घण्टा), रेशम छन्त्यालले (३ः०१.२० घण्टा), निर्मल लम्सालले (३ः२६.१३ घण्टा), अनिल थारु ३ः३१ः००, अनिपाल रावत ३ः३३ः२४, रोशनसिंह विष्ट ३ः४१ः२१, अर्जुन खत्रीले ४ः००.३९, ज्ञानेन्द्रकुमार जैशीले ४ः०३.२०, कृष्णकुमार महर्जनले ४ः३८.५५ घण्टामा दुरी पुरा गर्दै शीर्ष अठारभित्र स्थान सुरक्षित गरेका छन् ।

हाफ म्याराथन महिला २१ किमीतर्फ सेनाकी पूर्ण राज्यलक्ष्मीले एक घण्टा २१ मिनेट, २७ सेकेन्डमा निर्धारित दुरी पुरा गरी प्रथम स्थान हासिल गर्दा नेपाल एपीएफ क्लबकी फुलमति रानाले १ः२७ः२२ घण्टा, जुम्लाकी सुनदीवा बुढाले १ः२७.३९ घण्टा, पुष्पा आचार्यले १ः३५.०१ घण्टा, अमिता राईले १ः४७.२९ घण्टा समय निकाल्दै शीर्ष पाँच स्थान हासिल गरे ।

उनीहरू क्रमशः ७५ हजार, ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद, पदकले पुरस्कृत भए । पूर्णलक्ष्मीको यो दोस्रो उपाधि हो । यसअघि उनले पाँचौँ संस्करणमा उपाधि जितेकी थिइन् ।

पर्यटन प्रवर्द्धनका लागि छैटौँ बन्दीपुर महोत्सव

दमौली । पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसार र बन्दीपुर भ्रमण वर्ष २०२५ का अवसरमा यही मङ्सिर १० गतेदेखि २१ गतेसम्म छैटौँ बन्दीपुर महोत्सव आयोजना हुने भएको छ ।

तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाई समितिको आयोजनामा टुँडिखेलमा महोत्सव सञ्चालन हुनेछ ।‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रव्रद्धनः स्थानीय कला र संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित महोत्सव आयोजना गरिएको र तयारी अन्तिम चरणमा पुगेको महोत्सव संयोजक एवं इकाइ सभापति घनश्याम उपाध्यायले आज बन्दीपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

बन्दीपुर नेपालकै पर्यटकीय गन्तव्यस्थल रहेकाले यसको थप प्रवर्द्धनमा महोत्सवले सहयोग पुग्ने उनले बताए।

यहाँ अवस्थित ऐतिहासिक सम्पदाहरु एवं प्रचुर सम्भावना बोकेका पर्यटकीयस्थलको पहिचान, प्रचारप्रसार गरी बन्दीपुरको आर्थिक उन्नतिमा टेवा पु¥याउने लक्ष्य राखिएको उनको भनाइ छ ।

महोत्सव दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको र पाँच करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको उनले बताए।

महोत्सवका क्रममा धार्मिक तथा ऐतिहासिक स्थल खड्गदेवी मन्दिर, पहाडपानी महादेव, विन्ध्यवासिनी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, चामुण्डामाई भुत्याहा बराहा, सन्तानेश्वर महादेव, मणिमुकुन्द सेन दरबार तथा मार्ग, टुँडिखेल, रानीवनको भ्रमण गराइने उनले बताए ।

महोत्सवका क्रममा साहसिक पर्यटन खेलहरू चट्टान आरोहण, प्याराग्लाइडिङ, सेती जलयात्रा, साइक्लिङिको मज्जा लिन सकिने उनको भनाइ छ ।

महोत्सवमा व्यापारिक सामग्रीका ७९, विभिन्न घरेलु तथा हस्तकलाका तीन, कृषिउपजका दश, सेवामूलक संस्थाको एक, होटल रेष्टुरेन्टका आठ, सूचना केन्द्र एक, अटो कम्पनीका दुईलगायत स्टल रहनेछन् । बन्दीपुर गाउँपालिका संरक्षक रहेको महोत्सवको प्रवर्द्धकमा तनहुँ उद्योग वाणिज्य सङ्घ, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय रहेको छ ।

महोत्सवले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सहयोग गर्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए। भ्रमण वर्षका अवसरमा विविध कार्यक्रम गर्ने निर्णयबमोजिम महोत्सव गर्न लागिएको उनको भनाइ छ ।

भ्रमण वर्षलाई लक्षित गरी हरेक महिना गाउँपालिकाभित्र र बाहिर गरी दुई वटा कार्यक्रम गर्ने गरिएको उनको भनाइ छ । सोहीअनुसार गत भदौ १६ गते होटल एशोसिएसन बन्दीपुरको संयोजकत्वमा काठमाडौँमा बन्दीपुर प्रवर्द्धन कार्यक्रम गरिएको र त्यसले बन्दीपुरको पर्यटनलाई थप टेवा पुगेको उनको भनाइ थियो ।

फोहरलाई मोहरमा परिणत गर्दै व्यास नगरपालिका

तनहुँ ।  जिल्लाको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्रीबाट चालु आवको पहिलो चार महिनामा सात लाख आम्दानी गरेको छ ।

नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तुको वर्गीकरण गरी गत वर्षदेखि बिक्री गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए।

व्यास नगरपालिकाले दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर संकलन गर्दै आएको छ र कुहिने फोहरलाई गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरिन्छ ।

पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालिएको नगरपालिकाको वन, वातावरण तथा सरसफाइ शाखाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने, ‘व्यास नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडान गरी नकुहिने प्लास्टिकजन्य, फलामजन्य र कागजजन्यलाई ठूलो आकारबाट दाबेर सानो आकारमा परिणत गरी भण्डारण गरिन्छ ।’

कार्यालयका अनुसार आल्मुनियम प्रतिकेजी ६०, फलाम प्रतिकेजी ३५, टिन २५, पानीको बोतल तथा अन्य बोतल २३, कपडा पाँच रुपैयाँ ५० पैसा, कपी १६ र किताब १४ दररेट कायम गरिएको छ ।

नगरपालिकाले यसअघि वडा नं ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएको थियो । त्यस क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको हो ।

कुहिने फोहरलाई नगरले व्यास–१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन गर्दै आएको छ । नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएकामा त्यहाँ पनि स्थानीयले विरोध गरेकाले जग्गा खरिद प्रक्रिया हाललाई रोकिएको छ ।

नगरपालिकाले सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहरबाट राम्रो आम्दानी स्रोत बनाउन थालेको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

विद्यार्थी अपहरणको श्रङ्खला बढेपछि नाइजेरियामा विद्यालय बन्द

एजेन्सी। आतंकवादी समूहहरूद्वारा विद्यार्थीहरूको अपहरणको शृङ्खलामा वृद्धि भएपछि नाइजेरियाली सरकारले देशभरि कम्तीमा ४१ वटा माध्यमिक विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ ।

नाइजेरियाको मध्य राज्य नाइजरको एक विद्यालयमा संदिग्ध आतंककारीहरूले आक्रमण गरी कम्तिमा २१५ विद्यार्थी तथा १२ जना शिक्षकहरूलाई शुक्रबार अपहरण गरेको नाइजेरियाको क्रिश्चियन एसोसिएसन (क्यान) ले जनाएको छ ।

नाइजर राज्यका क्यानका प्रवक्ता डेनियल एटोरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अगवारा स्थानीय सरकारी क्षेत्रको निजी संस्था सेन्ट मेरी स्कूलमा आक्रमण गरी सन्दिग्ध आतङ्ककारीहरूले विद्यार्थी र शिक्षकहरूलाई बन्धक बनाएको बताएका छन् ।

एटोरीले अपहरण गरिएका बच्चाहरूका अभिभावकहरूलाई भेटेपछि बच्चाहरूलाई उद्धार गरी सुरक्षित रूपमा फिर्ता ल्याउनका लागि सरकार र सुरक्षा निकायहरूसँग मिलेर काम गरिरहेको बताएका छन् ।

नाइजर राज्य सरकारका सचिव अबुबकर उस्मानले घटनाको पुष्टि गरेका छन् भने गुप्तचर रिपोर्टहरूले राज्यका केही भागहरूमा सुरक्षा खतरा बढेको संकेत गरेका छन् ।

सतर्कताको आधारमा सरकारले सबै निर्माण गतिविधि स्थगित गर्न र प्रभावित क्षेत्रका स्कुलहरू अस्थायी रूपमा बन्द गर्न आदेश दिएको उनले बताए ।

स्थानीय सुरक्षा निकायहरूले विद्यार्थीहरूको सुरक्षित फिर्ती सुनिश्चित गर्न पूर्ण अनुसन्धान तथा खोजी र उद्धार अभियान सुरु गरेको जनाइएका छन् ।

नाइजर राज्यका प्रहरी प्रवक्ता वासिउ अबियोडुनलाई उदृत गर्दै अपहरण गरिएका विद्यार्थीहरूलाई उद्धार गर्नको लागि नजिकैको जंगलमा सैन्य शक्ति र अन्य सुरक्षा एजेन्सीहरूसहित अर्धसैनिक निकायलाई घटनास्थलमा तैनाथ गरिएको सिन्ह्वाले जनाएको छ ।

संघीय सरकारको स्वामित्वमा रहेका विद्यालयहरू लक्षित यो निर्देशन यस अघि नै लागू भइसकेको शिक्षा मन्त्रालयको विज्ञप्ति मार्फत जनाएको छ ।

जेनजीलाई प्रचण्डले भने–अब तपाईहरुकाे हातमा जिम्मेवारी सुम्पिन्छु

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी राजनीतिक नेतृत्व र राष्ट्र निर्माणको जिम्मेवारी अब युवापुस्तालाई सुम्पिने बताएका छन् । वाईसीएल नेपालले शनिबार पेरिसडाँडामा गरेको कार्यक्रममा बोल्दै उनले पार्टीभित्र मात्रै होइन, देशको समग्र परिवर्तनको यात्रालाई नयाँ पुस्ताको हातमा उभार्ने समय आएको बताए ।

प्रचण्डले पार्टीका समितीसम्म युवाको सहभागिता उल्लेख्य बनाउने तयारी भइरहेको जानकारी दिए । पार्टीभित्र आगामी निर्वाचनमा ‘सबैभन्दा धेरै अवसर युवालाई’ दिने विषयमा गम्भीर छलफल भईरहेको उल्लेख गर्दै उनले पुराना पुस्ताले अब उत्तराधिकारी निर्माणमा केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘हामीले अर्को नयाँ सपना देख्नु पर्छ । अब जिम्मेवारी युवा पुस्तालाई सुम्पने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

युवापुस्तामा बढ्दो असन्तोष र परिवर्तनकारी भावनालाई स्वीकार गर्दै प्रचण्डले हालै भदौ २३–२४ मा उठेको ‘जेन–जी आन्दोलन’ले भ्रष्टाचारविरुद्धको अभियानलाई ठूलो ऊर्जा दिएको बताए । उनका अनुसार, भ्रष्टाचार अहिले राष्ट्रका लागि ‘विकाराल र दुर्भाग्यपूर्ण चुनौती’ का रूपमा उभिएको छ । सरकारमा हुँदा र सडकमा हुँदा दुवै अवस्थामा आफूहरूले आवाज उठाइरहे पनि अपेक्षित सुनुवाइ नभएको स्वीकार गर्दै उनले नयाँ पुस्ताले उठाएको आवाजले आफूहरूलाई पनि पुनः जागृत बनाएको बताए ।

प्रचण्डले आन्दोलनकारी युवाप्रति आभार व्यक्त गर्दै भने, ‘तपाईंहरूले भ्रष्टाचारविरुद्ध, सुशासन र स्वतन्त्रताको पक्षमा जसरी आवाज उठाउनु भयो, त्यो आवाजले हाम्रो अभियानलाई नयाँ ऊर्जा दियो ।’ देशको वर्तमान चुनौती समाधान गर्न पुराना र नयाँ पुस्ता सबै मिलेर ‘राष्ट्र पहिलो’ भन्ने भावनासहित अघि बढ्न आवश्यक रहेको प्रचण्डको भनाइ थियो । उनले विगतका कमजोरी स्वीकार गर्दै आत्मसमीक्षा गर्दै युवापक्षीय परिवर्तनलाई आत्मसात् गर्न तयार भएको सन्देश पनि दिएका छन् ।

लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आवश्यक : अध्यक्ष ओली

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताबाट चुनिएकाहरूबाट मात्र सरकार सञ्चालन गर्ने लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यकता भएको बताएका छन् ।

सो पार्टीद्वारा आज काठमाडौँको भृकुटीमण्डपमा आयोजित जनसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले जेन-जी आन्दोलनपछि  गठन भएको सरकारले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको भावनाबमोजिम नभएको तर्क गरे।

उनले पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय स्वयंसेवक फोर्स सबैको सुरक्षाका निम्ति भएको स्पष्ट गरे। पार्टीका महासचिव शंकर पोखरेलले संविधान र लोकतन्त्रकाको सुदृढीकरणका लागि नेकपा एमाले  निरन्तर क्रियाशील रहने बताए।

त्यस अवसरमा पार्टीका वाग्मती प्रदेश कमिटीका इन्चार्ज डा. राजन भट्टराई, सचिव नवराज सिलवाललगायत वक्ताले पार्टीको जनपरिचालनको उद्देश्यबारे चर्चा गरेका थिए ।

अब विशेष महाधिवेशन निर्विकल्प : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्ने कुरा अब निर्विकल्प भएको बताएका छन् ।केन्द्रीय समितिको बैठकले निर्णय गर्न नसके पनि आवधिक अधिवेशन गर्ने समय नरहेकाले मंसिरमा विशेष अधिवेशन गर्नुपर्ने बताए ।

उनकाअनुसार मंसिरको २७, २८ गतेतिर महाधिवेशन गर्नुपर्छ । निर्वाचनअघि अधिवेशन गर्नेकुरा अनिवार्य रहेको पनि बताए । उनले नेपाली काँग्रेस आगामी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने पनि बताए ।

आगामी निर्वाचनमा भाग नलिने भन्ने राजनीतिक दलहरूलाई पनि संवादमार्फत निर्वाचनमा सहभागी हुन प्रयास गर्ने बताए । निर्वाचनका लागि सरकारलाई सहयोग, खबरदारी गर्ने पनि बताए । सरकार राजनीतिक दलहरूले निर्बाध रूपमा राजनीतिक गतिविधि गर्न पाउने वातावरण बनाउनतर्फ गम्भीर नभएको आरोप लगाए ।

उनले भने, ‘फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेस सहभागी हुन्छ । त्योसँगै नेपाली कांग्रेस पार्टीले अहिले निर्वाचनमा भाग लिन्नौँ भनेका दलहरूलाई निर्वाचनमा ल्याउनका लागि हरसम्भव प्रयास गर्दछ । उनीहरूसँग संवाद गर्दछ, उनीहरूलाई निर्वाचनमा ल्याउनु पर्छ भन्ने पहल हुन्छ । सँगै निर्वाचनका लागि सरकारलाई सहयोग, खबरदारी गर्दछ । हातहतियार बाहिर छन्, कैदीहरू फरार छन् । राजनीतिक दलहरूले निर्बाध रूपले आफ्ना गतिविधि गर्न पाउनुपर्छ । सरकार राजनीतिक दलहरूले निर्बाध आफ्ना गतिविधि गर्न पाउनुपर्नेतिर गम्भीर भइरहेको छैन । फागुन २१ भन्दा अर्को कुनै पनि निकास नेपालको अहिलेको जटिलताले पाउँदैन ।’

उनले भने, ‘ केही राजनीतिक दल र समूहको तर्फबाट जबरजस्ती उत्तेजना फैल्याउने, प्रतिशोध, निषेधको भाव फैल्याउने काम भएको छ । सरकारलाई थप अन्योलतामा लैजाने प्रवृत्ति देखिएका छन् । यो गलत छ, यसको विरुद्धमा हामी उभिन्छौँ । नेपाली कांग्रेसले आजका निर्णयहरूको भारी बोकेर शिर अग्लो बनाएर गर्वका साथ हिँड्न अधिवेशन गर्नैपर्छ । आज गरेको निर्णयलाई अधिवेशनबाट आएको नयाँ नेतृत्वले नै नयाँ नीतिका साथ अघि बढाउन सक्छ । यो अधिवेशन निर्वाचनअघि अनिवार्य गर्नैपर्छ । आवधिक अधिवेशन गर्नुपर्छ । अब निर्विकल्प कुरा भनेको विशेष महाधिवेशन हो । मंसिरको २७, २८ गतेतिर विशेष अधिवेशन गर्नुपर्छ । उत्तेजनाको नेतृत्व एउटा दलले गरिरहेको छ, शान्तिको नेतृत्व नेपाली कांग्रेसले गर्दछ ।’ महामन्त्री थापाले नेपाली कांग्रेसले शान्तिको राजनीतिको नेतृत्व गर्नुपर्ने बताएका छन् ।

पशुपति चौलागाईं स्मृति अस्पताल : सीमित स्रोतसाधनमा पनि विशेषज्ञ सेवा प्रवाह

दोलखा। बागमती प्रदेश सरकार मातहतको दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा विशेषज्ञ र डाइलाइसिस सेवा सुरू भएसँगै उपकरण र स्रोतसाधनको माग भएको छ ।

दीर्घरोगीका लागि गत छ महिनादेखि नियमित डाइलाइसिस सेवा सुरु गरेको सो अस्पतालमा हाडजोर्नी, स्त्री तथा प्रसूति, बालरोग, साधारण शल्यचिकित्सा र दाँतको उपचारजस्ता छ विशेषज्ञ सेवा पनि सञ्चालन भएको छ ।

हाल अस्पतालमा सबै किसिमका बिरामीका लागि सुविधा मिल्ने अवस्था सृजना भएको छ । जिल्लावासी र जिल्लामा अस्थायी रूपमा बस्नेलाई उपचार पाउन विगतमा जस्तो जनकपुर, धुलिखेल वा काठमाडौँ धाउनुपर्ने अवस्था क्रमशः अन्त्य भएको छ । जिल्लाका स्थानीय तहमा विशेषज्ञ सेवा नभएकाले जिल्ला सदरमुकामको यो अस्पताल अब विशेषज्ञ सेवाका लागि भरपर्दो विकल्प भएको छ ।

चरीकोट अस्पतालको नामबाट पनि चिनिने यस अस्पतालमा अहिले दुई सत्रमा स्वास्थ्य सेवा दिन १७ चिकित्सक खटिएका छन् भने डायलाइसिसलगायत जटिल रोगको उपचारका लागि पाँच नयाँ उपकरण ल्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अच्युत पौडेलले बताए ।

‘हाल अस्पताललाई भवनको अभाव छैन तर त्यहाँभित्र सोचेजसरी सेवा दिन लायक उपकरण र साधन उपलब्ध गराउन सकिएको छ’, डा. पौडेलले भने। करिब १८ रोपनी क्षेत्रफलमा रहेको यस अस्पतालको आफ्नै चार भवनका ५८ कोठाबाट बिरामीलाई सेवा दिँदै आएको छ । सङ्घ र प्रदेशबाट गरी अस्पतालमा चालु आर्थिक वर्षका लागि चार करोड २० लाख बजेट विनियोजित छ ।

प्रदेश सरकारको गत आर्थिक वर्षमा प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य सेवाका सूचकहरू, कार्यक्षमता र प्रस्तुतीकरणका आधारमा ६२ दशमलव ६७ प्राप्ताङ्कसहित बाग्मतीका १३ प्रादेशिक अस्पतालमध्ये यो अस्पताल छैटौँ स्थानमा पर्न सफल भएको थियो ।

अस्पतालमा दरबन्दीमा ७० र करारमा गरी हाल १०० कर्मचारी कार्यरत छन् । यहाँ हाल जाडो समयमा दैनिक १०० र गर्मीको समयमा ५०० सम्म बिरामी सेवा लिन आउने गर्दछन् । सरकारी अस्पताल भएकाले तोकिएको सुलभ शुल्कका आधारमा न्यून आम्दानी हुने र स्वास्थ्य बिमावापतको रकम समयमा भुक्तानी नहुँदा चालु पुँजीमा समस्या रहेको डा पौडेलले बताए।

गत सातादेखि मात्रै यस अस्पतालको जिम्मेवारीमा आएका पौडेलका अनुसार स्वास्थ्य बिमावबापत अस्पतालले रु ४० लाख भुक्तानी पाउन बाँकी रहेको छ ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुवास रिमाल स्रोतसाधनको खोजीका लागि प्रदेश सरकारसँग अनुरोध गरिएको बताउँछन्। उनले यही मङ्सिर ४ गते १२ श्ययाको आकस्मिक सेवा प्रबन्ध गर्न रूपा फाउण्डेशनमार्फत आत्मकृष्ण श्रेष्ठसँग रु १० लाख बराबरको सहकार्यको सम्झौता भएको जानकारी दिए ।

‘भवन र स्रोतसाधन जुटाउँदै गएका छौँ तर विशेषज्ञ चिकित्सकलाई लामो समयसम्म टिकाउन मुस्किल पर्छ’, अध्यक्ष रिमालले भने ।

प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जिल्ला अस्पताल हुँदै प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि स्वाभाविक रूपमा भौतिक पूर्वाधार र उपकरणको आवश्यकता बढ्ने भएको बताए। आफूहरूले विशेषज्ञ सेवा र डायलाइसिस सेवा थपेकाले चुनौती पनि थपिएका बताए।

उनले दोलखाको अस्पतालको नयाँ भवनलाई ‘लिफ्ट’का लागि गत आर्थिक वर्षमा बजेट विनियोजन गरिएकामा ठेकेदारबाट समयमा काम नहुँदा बजेट फ्रिज भएपछि अहिले पुनःबजेट विनियोजनको प्रक्रिया सुरू भएको बताउँदै आवश्यक केही उपकरणको बोलपत्र हुने जानकारी दिए। उनले प्रदेशका सबै १३ अस्पतालले औषधि र उपकरण खरिद प्रक्रिया सुरु गरेका बताए।

विसं २०३१ मा ‘दोलखा हेल्थ सेन्टर’का नामबाट सञ्चालन हुँदै २०६६ देखि २०७२ सालसम्म प्राथमिक स्वास्थ्य सेवा केन्द्रका रुपमा सञ्चालनमा रहेको थियो । यहाँ कोभिडको अवधिमा एमएसएफ बेल्जियम र प्राथमिक स्वास्थ्य सेवा केन्द्रको समजदारीमा शल्यक्रियासहितको आकस्मिक सेवा सञ्चालन भएकोे थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र न्याय हेल्थ नेपालबीच २०७२ माघ ५ गते चरीकोट अस्पताल सञ्चालन सम्बन्धमा भएको सम्झौताअनुसार सो प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० श्ययामा स्तरोन्नति गरिएको थियो ।

न्याय हेल्थले २०७७ कात्तिक १५ गते सहयोग नगर्ने घोषण गरेपछि केही महिना भीमेश्वर नगरपालिकाले व्यवस्थापन सम्हालेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको २०७७ मङ्सिर १८ गतेको निर्णयानुसार यस अस्पतालको व्यवस्थापन वागमती प्रदेश सरकारको मातहतमा आएको थियो ।

वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले २०७८ फागुन ५ गते चरीकोट अस्पताललाई पशुपति चौलागाईं स्मृति अस्पतालमा  परिवर्तन गरेको हो । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का पूर्वसांसद चौलागाईंको २०७८ वैशाख २८ गते कोभिडका कारण निधन भएको थियो । उनको स्मृतिलाई चिरस्थायी बनाउन उनको नामबाट अस्पतालको नामाकरण भएको हो ।

खाता नै नखोली काठमाडौंका ओपनर आकाश पहिलो ओभरमै आउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गुर्खाजका ओपनर आकाश त्रिपाठी रनको खाता नखोली आउट भएका छन् ।

उनी पाँच बल खर्चेर रनको खाता नखोली आउट भए । उनलाई विराटनगरका मर्चेन्ट डे लाङ्गेले कप्तान लामिछानेमार्फत् क्याच आउट गराएका हुन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर काठमाडौंले पहिला ब्याटिङको निम्तो पाएको हो ।

 

 

अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलन सुरु

जोहानेसबर्ग। अफ्रिकी भूमिमा पहिलोपटक आयोजना भएको समूह–२० (जी–२०) शिखर सम्मेलन शनिबार अत्यन्तै महत्त्वाकाङ्क्षी र दीर्घकालीन चुनौतीहरूमा केन्द्रित एजेन्डासहित आरम्भ भएको छ ।

विश्वका धनी राष्ट्रहरू र प्रमुख उदीयमान अर्थतन्त्रका शीर्ष नेताहरू दक्षिण अफ्रिकाको ऐतिहासिक सेवेटो टाउनसिप नजिकको प्रदर्शनी केन्द्रमा भेला हुँदै गरिब तथा संवेदनशील राष्ट्रहरूलाई दशौँ वर्षदेखि पिरोलिरहेका समस्याहरूमा ठोस प्रगति गर्ने प्रयासमा जुटेका छन् ।

तर दक्षिण अफ्रिकाद्वारा अगाडि सारिएका धेरै प्राथमिकताहरू- विशेषगरी जलवायु परिवर्तन र विकासशील राष्ट्रहरूमाथिको यसको गहिरो प्रभाव, अमेरिकी प्रतिरोधका कारण कूटनीतिक तनावको केन्द्रबिन्दु बनेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकाले ‘श्वेत–विरोधी नस्लवादी नीति अवलम्बन गरिरहेको’ भनिएको दाबी गर्दै शिखर सम्मेलन बहिष्कार गर्ने आदेश दिएपछि समूहमा अमेरिकाको अनुपस्थिति औपचारिक रूपमा पुष्टि भयो ।

यस वर्षको घुम्ती अध्यक्ष राष्ट्रका रूपमा दक्षिण अफ्रिका शिखर सम्मेलनको एजेन्डालाई गरिब मुलुकहरूलाई जलवायु–सम्बन्धी प्रकोपबाट पुनःउद्धार, विदेशी ऋणको बोझ घटाउने, हरित ऊर्जा सङ्क्रमणमा सहजता ल्याउने तथा आफ्नै महत्त्वपूर्ण खनिज भण्डारलाई प्रभावकारी रूपमा उपयोग गर्न सहयोग प्रवाह गर्ने दिशामा केन्द्रित गरेको छ । यी सबै विषयहरू संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका शब्दमा ‘विकासशील विश्वका मुख्य आवश्यकता स्पष्ट रूपमा टेबलमा राख्ने दक्षिण अफ्रिकाको ठूलो योगदान’ हुन् ।

तर अमेरिकी बहिष्कारले वातावरणलाई थप जटिल बनाएको छ । राष्ट्रपति ट्रम्प प्रशासनले वर्षैभरि दक्षिण अफ्रिकाले अघि सारेका विविधता, समानता, समावेशीकरण र जलवायु–केन्द्रित नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै आएको थियो । यही असन्तुष्टिका क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फेब्रुअरीमा भएको विदेश मन्त्रिस्तरीय बैठकसमेत बहिष्कार गर्नुभएको थियो र ‘यी विषयहरूमा अमेरिकी करदाताको पैसा बर्बाद गर्न नदिने’ टिप्पणी पनि गरेका थिए ।

यसले दुई देशबीच महिनौँदेखि रहँदै आएको कूटनीतिक दरारलाई यस सप्ताहान्त चरममा पु¥यायो । यद्यपि केही प्रमुख नेताहरू भने अमेरिकाको अनुपस्थितिले शिखर सम्मेलनलाई कमजोर पार्न नहुनेमा दृढ देखिए । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले ‘राष्ट्रपति ट्रम्पको अनुपस्थितिप्रति दुःख व्यक्त गर्दै तर यसले हामीलाई रोक्नु हुँदैन’ भनी स्पष्ट पारे ।

‘हामी सबैलाई मिलेर काम गर्नुपर्ने अनेकौँ चुनौतीहरू छन्’, म्याक्रोनको कथन थियो ।

वास्तविक रूपमा २१ सदस्यीय समूह जी–२० उन्नाइस राष्ट्रहरू, युरोपेली सङ्घ र अफ्रिकी सङ्घ मिलेर बनेको छ । सन् १९९९ मा धनी र गरिब राष्ट्रबीचको आर्थिक खाडल घटाउने तथा वित्तीय सङ्कट व्यवस्थापन गर्नका लागि स्थापित यो समूहले विश्व अर्थतन्त्रको ८५ प्रतिशत, अन्तर्राष्ट्रिय व्यापारको ७५ प्रतिशत तथा विश्व जनसङ्ख्याको आधाभन्दा बढी प्रतिनिधित्व गर्छ ।

तर यसका निर्णयहरू बाध्यकारी नभई सहमतिमै आधारित हुने भएकाले अमेरिका, चीन, रुस, भारत, जापान, पश्चिमी युरोपेली राष्ट्रहरू तथा अन्य प्रमुख सदस्यहरूका फरक–फरक चासोलाई एउटै निष्कर्षमा उतार्नु अक्सर चुनौतीपूर्ण हुन्छ ।

महासचिव गुटेरेसले धनी राष्ट्रहरूले जलवायु तथा वित्तीय सुधारका क्षेत्रमा आवश्यक सहुलियत दिन अनिच्छुक देखिनु चिन्ताजनक भएको उल्लेख गरे ।

शिखर सम्मेलन परम्परागत रूपमा एक साझा घोषणासँग समाप्त हुन्छ तर यसपटक उक्त घोषणामाथि समेत अनिश्चितता छ । दक्षिण अफ्रिका सरकारका अनुसार अमेरिकाले आफ्नो अनुपस्थितिमा कुनै संयुक्त घोषणा जारी नहोस् भनेर दबाब दिँदै अन्तिम कागजातलाई मात्र दक्षिण अफ्रिकाद्वारा प्रस्तुत एकपक्षीय बयानका रूपमा सीमित गर्न खोजिरहेको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले यसलाई अस्वीकार गर्दै ‘हामीलाई धम्की दिएर रोकिन्नस उपस्थित सबै सदस्यहरूको सहभागितासहित वा अमेरिकी इनपुट बिना पनि घोषणा जारी गर्नेछौँ’ भनी स्पष्ट प्रतिक्रिया दिए ।

उता, शिखर सम्मेलनपछि जी–२० को घुम्ती अध्यक्षता दक्षिण अफ्रिकाबाट अमेरिकामा जानेछ, जसले समूहको आगामी दिशा कुनै हदसम्म परिवर्तन हुन सक्ने आकलनलाई बढाएको छ । राष्ट्रपति ट्रम्पले त्यसपछिको शिखर सम्मेलन आफ्नो फ्लोरिडास्थित डोरल गोल्फ क्लबमा आयोजना गर्ने घोषणा गरिसक्नुभएको छ । तर अमेरिकाको यस सम्मेलनमा सक्रिय भूमिका भने अत्यन्त न्यून रहनेछ- केवल हस्तान्तरण समारोहमा दक्षिण अफ्रिकास्थित अमेरिकी दूतावासका प्रतिनिधि सहभागी हुनेछन् ।

दक्षिण अफ्रिकाले यस्तो ‘कनिष्ठ तहका’ प्रतिनिधि पठाउनुलाई आफ्नो नेतृत्वप्रति गरिएको अपमानका रूपमा व्याख्या गरेको छ । अफ्रिकाको पहिलो ऐतिहासिक जी–२० शिखर सम्मेलन कूटनीतिक तनाव, बहुपक्षीय आकांक्षा र विश्वव्यापी विभाजनका बीचमा सुरु भएको छ ।

विराटनगरले काठमाण्डुविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा काठमाण्डु गोर्खाजविरुद्ध विराटनगर किंग्सले पहिला फिल्डिङ गर्ने भएको छ ।

टीयु क्रीकेट मैदानमा काठमाण्डुविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।

 

कांग्रेसले चुनावमा भाग लिने, महाधिवेशनबारे अझै अनिर्णित

काठमाडौं । नेपाली कांग्रेसले चुनाव भाग लिने निर्णय गरेको छ । सानेपामा बसेको केन्द्रीय समिति बैठकले चुनावमा भाग लिने निर्णय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिएका छन् । महाधिवेशनबारे थप निर्णय गर्नको लागि बैठक फेरि ११ गते बस्ने बताए ।

बैठकले निर्वाचनको माध्यबाट नै संविधानको रक्षा गर्ने निष्कर्ष निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् । उनले भने, ‘प्रतिनिधि सभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्था यो विषय राजनीतिक मात्रै नभए संवैधानिक पनि हो । सर्वोच्च अदालतमा पनि विचाराधीन भएकाले अन्तिम व्याख्या हुनेछ भन्ने कांग्रेस विश्वास गर्दछ ।’ अहिलेको राजनीतिक निकास निर्वाचन नै भएको बैठकले निष्कर्ष निकालेको पनि बताए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महाधिवशेनबारे कुनै निर्णय नगरी सकिएको छ । शनिबार सानेपामा बसेको बैठक महाधिवेशनबारे कुनै निर्णय नगरी सकिएको हो । बैठकले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । बैठकमा महामन्त्री गगनकुमार थापाले बैठकका निर्णयहरू पढेर सुनाएका थिए ।

‘एकैचोटि सबै विषयमा निर्णय गरौं नै भन्ने प्रयास थियो । सबै विषयमा निर्णय नहुन सकेता पनि केही हाम्रा राष्ट्रिय राजनीतिका बारेमा निर्णय गरेका छौं,’ उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हामी थप केही दिन भित्रमा छलफल गरेर समझदारीबाट नभए विधिबाट हाम्रा बीचमा बाँकी रहेका विषयहरूलाई टुंग्याउनु पर्नेछ ।’ अर्को बैठकमा बाँकी रहेका विषयहरू टुंग्याइने महामन्त्री थापाको भनाइ थियो ।