`

सरकारी ठेक्का अलपत्र : अध्यक्ष शर्मा पक्राउ

काठमाडौं। नेपालकै प्रमुख निर्माण कम्पनीमध्ये एक शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो। उनलाई सरकारी ठेक्का अलपत्र पारेको आरोप लागेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार सहरी विकास मन्त्रालयको पत्रका आधारमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका निर्माण व्यवसायी शर्मालाई आवश्यक प्रक्रियाका लागि सहरी विकास मन्त्रालयमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

राष्ट्रपतिले संसदमा गर्ने सम्बोधन मन्त्रिपरिषद्‌बाट स्वीकृत (भिडियो)

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ।

सिंहदरबारमा बसेको बैठकले राष्ट्रपतिले गर्ने सम्बोधन स्वीकृत गरेको शिक्षामन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

आजको बैठकले सरकारले आजै ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि पारित गर्नेछ।

सोमबार दिउँसो ४ बजे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

पौडेल र शर्मासहित गगन पुगे सुर्खेत

सुर्खेत। नेपाली कांग्रेसले  सोमबार कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ। सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा कांग्रेसले मध्यान्हदेखि दुई दिने प्रदेशस्तरीय भेला सुरू गर्न लागेको हो।

जिल्ला सभापति खड्गबहादुर पोखरेलका अनुसार प्रदेशस्तरीय भेलाको उद्घाटन सभापति गगनकुमार थापाले गर्ने कार्यक्रम तय भएको छ। मध्यान्ह १२ बजेर ३५ मिनेटमा सुरू हुने कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल पनि सहभागी हुने छन्।

कांग्रेसले यसअघि २६ र २७ वैशाखमा कैलालीको धनगढीमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो। ३१ वैशाख र १ जेठमा गण्डकी प्रदेशस्तरीय भेला पोखरामा तथा ४ र ५ जेठमा बागमती प्रदेशस्तरीय भेला काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्पन्न हुने जनाइएको छ।

त्यसैगरी मधेश प्रदेशको भेला ६ र ७ जेठमा महोत्तरीको बर्दिवासमा, कोशी प्रदेशको ८ र ९ जेठमा सुनसरीको लौकीमा तथा लुम्बिनी प्रदेशको १४ र १५ जेठमा रुपन्देहीको तिलोत्तमामा आयोजना गरिने कांग्रेसले जनाएको छ।

सानफ्रान्सिस्कोमा भव्य रूपमा मनाइयो ‘नेपाल उत्सव’

टेक्सास। अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना गरिएको छ। नेपाली कला, संस्कृति, वेशभूषा तथा परम्पराको प्रदर्शनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले उक्त उत्सव आयोजना गरिएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्नियालगायत विभिन्न नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अमेरिकाका विभिन्न सहरमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। लस एन्जलस, सान डिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङबीचलगायतका सहरबाट नेपालीहरू सानफ्रान्सिस्को पुगेका थिए।

सानफ्रान्सिस्को सिटी हलबाट सुरु भएको ‘नेपाल डे परेड’ एम्बार्काडेरो प्लाजासम्म करिब १.६ माइल दूरीमा सञ्चालन गरिएको थियो। परेड अवधिभर मुख्य सडक मार्केट स्ट्रिटमा सवारी आवागमन बन्द गरी पैदलयात्रुका लागि खुला गरिएको थियो।

विभिन्न जातीय तथा क्षेत्रीय संस्थाहरूले प्रस्तुत गरेका झाँकी, नेपाली वेशभूषा र सांस्कृतिक प्रस्तुतिहरूले सानफ्रान्सिस्कोको सडकलाई ‘नेपालमय’ बनाएको थियो। प्रदर्शन गरिएका नेपाली कला र संस्कृतिलाई स्थानीय अमेरिकी समुदायले समेत रुचिपूर्वक अवलोकन गरेका थिए।

नेपाली समुदायलाई हौसला प्रदान गर्न अमेरिकाका विभिन्न स्थानीय जनप्रतिनिधिहरू समेत कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा पञ्चकन्या, पञ्चेबाजा, शङ्खध्वनि, कुमारी, धिमे तथा लाखे नाच मुख्य आकर्षण बनेका थिए।

उत्सवमा सानफ्रान्सिस्कोस्थित विभिन्न देशका महावाणिज्य दूतावासका कूटनीतिक अधिकारी, बे एरियाका मेयर तथा सिटी काउन्सिल सदस्यहरूको समेत सहभागिता रहेको एनआरएनए क्यालिफोर्नियाका सचिव कैलाश केसीले जानकारी दिए।

सरकारले फिर्ता ल्यायो ७०१ सरकारी गाडी (भिडियो)

काठमाडौं । सरकारले दोहोरो सुविधा लिइरहेका राजनीतिकर्मी, पूर्वप्रशासक तथा विभिन्न व्यक्तिले प्रयोग गर्दै आएका ७०१ वटा सरकारी गाडी फिर्ता ल्याएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस सचिवालयका अनुसार शुक्रबारसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न निकायमा प्रयोग भइरहेका ती सवारीसाधन फिर्ता गराएको हो। कुल ३४ वटा सरकारी निकायबाट गाडी फिर्ता ल्याइएको जनाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत वितरण गरिएका २६ वटा गाडी फिर्ता ल्याइएको छ भने सबैभन्दा धेरै अर्थ मन्त्रालयबाट लगिएका १२४ वटा सवारीसाधन फिर्ता गरिएको छ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट १६/१६ वटा गाडी फिर्ता ल्याइएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट ८, कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट २०, खानेपानी मन्त्रालयबाट ५ तथा गृह मन्त्रालयबाट २१ वटा गाडी सरकारको नियन्त्रणमा फर्काइएको छ।

यस्तै, परराष्ट्र मन्त्रालयबाट ८, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट १२, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ६४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट ६, रक्षा मन्त्रालयबाट १४, वन तथा वातावरण मन्त्रालयबाट १३ तथा सहरी विकास मन्त्रालयअन्तर्गतका ७५ वटा गाडी फिर्ता ल्याइएको सचिवालयले जनाएको छ।

रियललाई २-० ले हराउँदै बार्सिलोनाले जित्यो ‘ला लिगा’ उपाधि 

एजेन्सी। बार्सिलोनाले सानदार प्रदर्शन गर्दै ला लिगाको उपाधि आफ्नो नाम गरेको छ। मार्कस रासफोर्ड र फेरान टोरेसको सुरुवाती गोलको मद्दतले बार्सिलोनाले आइतबार रियल म्याड्रिडलाई २–० ले पराजित गर्दै क्याम्प नोउमा उपाधि सुनिश्चित गरेको हो।

बार्सिलोना खेलको सुरुवाती १८ मिनेटभित्रै २–० ले अग्रता लिन सफल भएको थियो र त्यसपछि खेलमा रियल म्याड्रिडले फर्कने खासै अवसर पाउन सकेन। यो हार रियलका लागि ठूलो धक्का बनेको छ, किनभने आफ्ना क्लासिको प्रतिद्वन्द्वीले डर्बी जित्दै उपाधि जितेको यो पहिलो पटक हो।

किलियन एम्बाप्पे अनुपस्थित रहँदा, फेडेरिको भाल्भेर्दे पनि चोटका कारण टोलीमा उपलब्ध थिएनन्। त्यसबाहेक पनि रियलले अपेक्षित प्रदर्शन गर्न सकेन।

खेलको नवौं मिनेटमै एन्टोनियो रुडिगरले पेनाल्टी क्षेत्र नजिकै फेरान टोरेसलाई फाउल गरेपछि रासफोर्डले उत्कृष्ट फ्रिकिकमार्फत पहिलो गोल गरे।

१८ औं मिनेटमा बार्सिलोनाले अग्रता दोब्बर बनायो। फेरमिन लोपेजको लामो पासलाई दानी ओल्मोले नियन्त्रणमा लिँदै दिएको पासमा टोरेसले थिबो कोर्टुवा विरुद्ध सहजै गोल गरे।

रियलका गोन्जालो गार्सियाले राम्रो अवसर गुमाउँदा बार्सिलोनाका एरिक गार्सियाले अन्तिम क्षणमा उत्कृष्ट बचाउ गरेका थिए। पहिलो हाफमै रासफोर्ड र ओल्मोले तेस्रो गोल गर्ने अवसर पनि गुमाएका थिए।

दोस्रो हाफको सुरुमै राउल एसेन्सियो र दानी ओल्मोबीचको टकरावपछि खेलमा केही तनाव देखिएको थियो। त्यसपछि कोर्टुवाले फेरान टोरेसको अर्को प्रयास रोक्दै थप गोल हुन दिएनन्।

जुड बेलिङ्घमले ब्राहिम डियाजको पासमा गोल गरे पनि अफसाइड दिइएपछि रियलको खेलमा फर्कने सम्भावना समाप्त भयो।

अन्ततः बार्सिलोनाले पूर्ण समयको सिट्टीसँगै उपाधि उत्सव मनाएको छ।

यो जित प्रशिक्षक हान्सी फ्लिकका लागि भावनात्मक पनि रह्यो, किनभने खेलकै दिन उनका बुबाको निधन भएको थियो। तर उनी टोलीसँगै डगआउटमा उपस्थित रहे।

यो एल क्लासिको इतिहासमा दोस्रो पटक हो, जहाँ ला लिगा उपाधि सिधै बार्सिलोना र रियलबीचको खेलबाट निर्णय भएको हो। यसअघि सन् १९३२ मा यस्तो भएको थियो।

यो उपाधिसँगै फ्लिक आफ्नो पहिलो दुई सिजनमै ला लिगा जित्ने चौथो प्रशिक्षक बनेका छन्। यसअघि पेप ग्वार्डिओला, लुइस एनरिके र अर्नेस्टो भाल्भेर्देले मात्र यस्तो उपलब्धि हासिल गरेका थिए।

दुवै टोलीबीच २६४ प्रतिस्पर्धात्मक एल क्लासिको खेलपछि अब बराबरी अवस्था पुगेको छ, जसमा दुवैले समान १०६ खेल जितेका छन् भने ५२ खेल बराबरीमा सकिएका छन्।

सरकारले जारी गरेका अध्यादेशका निर्णायक कांग्रेस, एमाले, नेकपा

काठमाडौं । सरकारले हालै जारी गरेका अध्यादेशहरू राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा प्रमुख विपक्षी दलहरू जुटेका छन् । यसले प्रधानमन्त्री बालेनको अध्यादेशीय शासनको सुरुवातमै ढुंगा लाग्न सक्ने देखिन्छ।

संसद् अधिवेशन आह्वान भइसकेपछि अध्यादेश ल्याइएको भन्दै विरोध गर्दै आएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच सबै अध्यादेश एकै पटक अस्वीकार गर्ने वा विषयवस्तु हेरेर निर्णय लिने भन्ने विषयमा भने अझै साझा निष्कर्ष बनेको छैन ।
संविधानअनुसार संघीय संसद्का दुवै सदनबाट स्वीकृत नभए अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था छ । प्रतिनिधिसभामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डै दुईतिहाइ बहुमत रहेकाले त्यहाँ अध्यादेश पारित हुन सहज देखिएको छ । तर राष्ट्रिय सभामा रास्वपाको प्रतिनिधित्व नभएकाले विपक्षी दलहरूले त्यहीँबाट अध्यादेश रोक्ने तयारी थालेका हुन् ।

सरकारले जारी गरेका सबै आठ अध्यादेश सोमबार बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा पेस गर्ने कार्यसूची तय गरिएको छ ।

राष्ट्रिय सभा नियमावलीअनुसार अध्यादेश पेस भएको दुई दिनभित्र अस्वीकृतिको सूचना दर्ता गराउनुपर्ने व्यवस्था छ । त्यस्तो सूचना दर्ता गर्दा अध्यादेश अस्वीकृत गर्नुपर्ने कारणसमेत खुलाउनुपर्ने हुन्छ । एकभन्दा बढी प्रस्ताव परेमा आपसी सहमति वा दर्ता क्रमका आधारमा एउटा प्रस्तावलाई मात्रै छलफलका लागि अघि बढाइने नियम छ ।

राष्ट्रिय सभा अध्यक्षले अस्वीकृतिको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमत पुगे अध्यादेश त्यही चरणबाट स्वतः खारेज हुने व्यवस्था छ । अध्यादेश अस्वीकृत नभए मात्र सरकारले प्रतिस्थापन विधेयक अघि बढाउन पाउनेछ ।

पछिल्लो समय विभिन्न राजनीतिक मुद्दामा कांग्रेस, एमाले, नेकपा र राप्रपा एउटै धारमा देखिएका छन् । चारै दल सैद्धान्तिक रूपमा अध्यादेशको विपक्षमा छन् । यद्यपि राप्रपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नरहेकाले कांग्रेस, एमाले र नेकपाको भूमिकाले नै अध्यादेशको भविष्य तय गर्ने देखिएको छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेस २४ सिटसहित सबैभन्दा ठूलो दल हो । नेकपाका १७, एमालेका १०, जसपाका २ तथा लोसपा र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य छन् । साथै राष्ट्रपतिबाट मनोनीत दुई सदस्य पनि रहेका छन् ।

बालेन सरकारले ल्याएको अध्यादेश विपक्षी दलले रोक्ने तयारी

काठमाडौं। सरकारले हालै जारी गरेका अध्यादेशहरू राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा प्रमुख विपक्षी दलहरू जुटेका छन् । संसद् अधिवेशन आह्वान भइसकेपछि अध्यादेश ल्याइएको भन्दै विरोध गर्दै आएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच सबै अध्यादेश एकै पटक अस्वीकार गर्ने वा विषयवस्तु हेरेर निर्णय लिने भन्ने विषयमा भने अझै साझा निष्कर्ष बनेको छैन ।

संविधानअनुसार संघीय संसद्का दुवै सदनबाट स्वीकृत नभए अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था छ । प्रतिनिधिसभामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डै दुईतिहाइ बहुमत रहेकाले त्यहाँ अध्यादेश पारित हुन सहज देखिएको छ । तर राष्ट्रिय सभामा रास्वपाको प्रतिनिधित्व नभएकाले विपक्षी दलहरूले त्यहीँबाट अध्यादेश रोक्ने तयारी थालेका हुन् ।

सरकारले जारी गरेका सबै आठ अध्यादेश सोमबार बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा पेस गर्ने कार्यसूची तय गरिएको छ ।

राष्ट्रिय सभा नियमावलीअनुसार अध्यादेश पेस भएको दुई दिनभित्र अस्वीकृतिको सूचना दर्ता गराउनुपर्ने व्यवस्था छ । त्यस्तो सूचना दर्ता गर्दा अध्यादेश अस्वीकृत गर्नुपर्ने कारणसमेत खुलाउनुपर्ने हुन्छ । एकभन्दा बढी प्रस्ताव परेमा आपसी सहमति वा दर्ता क्रमका आधारमा एउटा प्रस्तावलाई मात्रै छलफलका लागि अघि बढाइने नियम छ ।

राष्ट्रिय सभा अध्यक्षले अस्वीकृतिको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमत पुगे अध्यादेश त्यही चरणबाट स्वतः खारेज हुने व्यवस्था छ । अध्यादेश अस्वीकृत नभए मात्र सरकारले प्रतिस्थापन विधेयक अघि बढाउन पाउनेछ ।

पछिल्लो समय विभिन्न राजनीतिक मुद्दामा कांग्रेस, एमाले, नेकपा र राप्रपा एउटै धारमा देखिएका छन् । चारै दल सैद्धान्तिक रूपमा अध्यादेशको विपक्षमा छन् । यद्यपि राप्रपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नरहेकाले कांग्रेस, एमाले र नेकपाको भूमिकाले नै अध्यादेशको भविष्य तय गर्ने देखिएको छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेस २४ सिटसहित सबैभन्दा ठूलो दल हो । नेकपाका १७, एमालेका १०, जसपाका २ तथा लोसपा र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य छन् । साथै राष्ट्रपतिबाट मनोनीत दुई सदस्य पनि रहेका छन् ।

बैंकिङ कसुर आरोपमा गाउँपालिका अध्यक्ष शाही पक्राउ

काठमाडौं। दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन्।

उनले दिएको करिब ५ लाख रुपैयाँको चेक बाउन्स भएपछि एक स्थानीयले उजुरी दिएका थिए। सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शाहीलाई हाल हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। साथै थप अनुसन्धानका लागि अदालतबाट म्याद समेत थप भइसकेको प्रहरीले जनाएको छ।

आरोही विजय घिमिरेको लेक लागेर निधन, हर्क साम्पाङद्वारा श्रद्धाञ्जली

काठमाडौं। सगरमाथाको चुचुरोमा हर्क साम्पाङको तस्बिर पुर्‍याउने सगरमाथा आरोही विजय घिमिरेको लेक लागेर निधन भएको छ। घिमिरेको निधनप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दुःख व्यक्त गरेका छन्।

आरोहणका क्रममा आइतबार सगरमाथाको क्याम्प-१ पुग्दा उनी बिरामी परेका थिए। उद्धार गरी आधार शिविरतर्फ ल्याउने क्रममा बाटोमै उनको निधन भएको हो। उनको शव हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ।

अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, ‘विजय घिमिरे ज्यू, तपाईं हाम्रो हृदयमा सदैव अमर रहिरहनुहुनेछ।’

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-७ निवासी घिमिरेले २०८२ जेठ ४ गते सगरमाथाको चुचुरोमा पुगेर देशको झण्डा ओढाएका थिए। साथै उनले ढुंगा बोकेर हर्क साम्पाङको तस्बिर अंकित ब्यानरसमेत फहराएका थिए।

उनको निधनपछि श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ताहरूले पनि गहिरो श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

साढे आठ वर्षपछि ‘मितज्यू’मा ‘सौगात’सँग ‘दयाहाङ’

काठमाडौं। करिब साढे आठ वर्षअघि तयार भएको स्क्रिप्ट अन्ततः अब ठूलो पर्दामा आउने भएको छ। अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘मितज्यू’ जेठ ८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ। फिल्मले हराउँदै गएको मित संस्कृतिलाई मुख्य विषय बनाएको छ।

फिल्मले पारिवारिक सम्बन्ध, मित्रता र जीवन संघर्षको कथा प्रस्तुत गर्ने बताइएको छ।

फिल्मका प्रमुख अभिनेता दयाहाङ राईका अनुसार ‘मितज्यू’ केवल मितेरी सम्बन्धमा मात्र केन्द्रित नभई गाउँदेखि सहरसम्मको जीवन यथार्थ समेटिएको कथा हो। उनले भने, ‘यो सम्बन्धको कथा हो। परिवार, मित्रता र पेशागत जिम्मेवारीबीचको संघर्ष,’ साथै उनका अनुसार तीन चालकको जीवनमार्फत कथा अगाडि बढ्छ।

दयाहाङसँगै फिल्ममा सौगात मल्ल र शिशिर वाङ्देल पनि प्रमुख भूमिकामा देखिनुहुनेछ। उनीहरू गाडी चालकको भूमिकामा प्रस्तुत हुनेछन्, जहाँ प्रत्येक पात्रको आफ्नै कथा र पृष्ठभूमि रहेको दयाहाङले बताए।

अभिनेता राईका अनुसार ‘मितज्यू’को स्क्रिप्ट करिब साढे आठ वर्षअघि नै उनको हातमा पुगेको थियो। निर्माता जनक घर्ती मगर र निर्देशक अनिल मगरले त्यतिबेला नै उनलाई यो परियोजनाका लागि प्रस्ताव गरेका थिए। उनले सम्झिँदै भने, ‘कथा मन परेको थियो, तर त्यो समयमा आफूले न्याय गर्न सक्छु कि सक्दिनँ भन्ने अन्योल थियो।’

बीचमा विभिन्न कारण, विशेषगरी कोभिड महामारीका कारण परियोजना रोकिए पनि समय मिलेसँगै स्क्रिप्ट पुनः अघि बढाइएको र अन्ततः आफू जोडिएको उनले बताए।

उनका अनुसार फिल्ममा उनको भूमिका अघिल्ला फिल्मभन्दा फरक छ। उनले भने, ‘म बाहिरी अभिनयभन्दा पात्रको भित्री मनोविज्ञानसँग काम गर्न रुचाउँछु। यसपटकको पात्र गहिरो छ, मेरो आफ्नै अनुभवभन्दा फरक भए पनि समाजसँग जोडिएको छ।’

सह-अभिनेता सौगात मल्लसँगको सहकार्यबारे बोल्दै उनले यस फिल्ममा उनीहरूको सम्बन्ध अघिल्ला फिल्मभन्दा फरक रहेको बताए। फिल्ममा नव अभिनेत्री टेरिया फौजा मगर पनि देखि हुनेछिन्। उनलाई नयाँ भए पनि समर्पित कलाकारका रूपमा पाएको उनले खुलाए।

उनले भने, ‘कलाकार भएपछि नयाँ-पुरानो भन्ने हुँदैन, सबै कुरा पात्र र कथामा निर्भर हुन्छ।’

फिल्मको शीर्षकसँग जोडिएको मित संस्कृतिबारे दयाहाङको व्यक्तिगत अनुभव भने सीमित रहेको छ। उनले भने, ‘मैले व्यक्तिगत रूपमा मित लगाएको छैन, तर यसको सामाजिक महत्वबारे सुन्दै आएको छु। पहिले झगडा मिलाउन पनि मित लगाउने चलन थियो।’

चार सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य घटेको छ भने चाँदीको भाउ बढेको छ।

आइतबार प्रतितोला एक हजार रुपैयाँले घटेको सुन आज थप चार सय रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यही सुन प्रतितोला दुई लाख ९८ हजार नौ सय रुपैयाँमा किनबेच भएको थियो।

यता चाँदीको मूल्य भने आज बढेको छ। आइतबार प्रतितोला पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४० रुपैयाँले बढेर पाँच हजार तीन सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

झापामा तीन वर्षमा १० हजारभन्दा बढीले गरे सुरक्षित गर्भपतन

झापा। जिल्लामा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने सूचीकृत सरकारी स्वास्थ्य संस्था २७ रहेका छन्। तीमध्ये नगर अस्पताल, आधारभूत अस्पताल, हेल्थ पोस्ट तथा स्वास्थ्य सेवा केन्द्रलगायतका संस्थाहरूबाट यो सेवा प्रदान हुँदै आएको छ। निजी क्षेत्रका स्वास्थ्य संस्थाले पनि सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउँदै आएका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विश्वनाथ श्रेष्ठका अनुसार पछिल्ला तीन वर्षमा सूचीकृत संस्थाबाट कुल १० हजार ४१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। तीमध्ये २० वर्षमुनिका किशोरीको संख्या ६०६ रहेको छ।

आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ८१९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए, जसमा २९२ जना २० वर्षमुनिका किशोरी रहेका थिए। तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा यो संख्या क्रमशः घट्दो अवस्थामा देखिएको छ।

त्यसैगरी, आव २०८१/८२ मा तीन हजार ६३७ जनाले सेवा लिएका थिए, जसमा १८३ जना २० वर्षमुनिका थिए। चालु आव २०८२/८३ को चैत मसान्तसम्ममा दुई हजार ५८५ जनाले सेवा लिएका छन्, जसमा १३१ जना २० वर्षमुनिका किशोरी रहेका छन्।

विगत तीन वर्षको तथ्याङ्क अनुसार सुरक्षित गर्भपतनका लागि महिलाले शल्यक्रियाभन्दा औषधि विधि बढी रोजेको देखिएको छ। सो अवधिमा औषधि विधिबाट छ हजार १६ जनाले सेवा लिएका छन् भने शल्यक्रिया विधिबाट चार हजार २५ जनाले सेवा लिएका छन्।

असुरक्षित गर्भपतनका कारण मृत्युको घटना सरकारी अभिलेखमा नरहेको जनाइएको छ। यद्यपि सूचीकृत नभएका तथा निजी स्वास्थ्य संस्थाबाट असुरक्षित रूपमा गर्भपतन गराउने जोखिम रहने बताइएको छ।

गोपनियताका कारण कतिपय महिला सूचीकृत नभएका संस्था वा योग्यताविहीन स्वास्थ्यकर्मीबाट सेवा लिन बाध्य हुने गरेको पनि उल्लेख गरिएको छ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका चालु कार्यक्रम, विकास निर्माणका काम तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने बताइएको छ। साथै केही महत्वपूर्ण नीतिगत निर्णयसमेत हुन सक्ने स्रोतले जनाएको छ।

यस वर्ष सरकारले ढिलो गरी बजेट अधिवेशन बोलाएकाले अधिवेशनको पहिलो दिन (सोमबार) नै राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ।

संसद्का प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनको पहिलो दिन संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि छलफल हुने र निर्णयार्थ पेश गरिनेछ। पारित भएपछि प्रि–बजेट (बजेटपूर्व छलफल) प्रक्रिया सुरु हुने जनाइएको छ।

 

स्वच्छ प्रशासनतर्फ नयाँ कदम: देशभर ‘सरसफाइ सप्ताह’ सुरु (तस्वीरहरू)

 काठमाडौं। स्वच्छ प्रशासन र सार्वजनिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यसहित आजदेखि देशभर ‘सरसफाइ सप्ताह’ सुरु गरिएको छ।

कार्यक्रमको औपचारिक शुभारम्भ वीर अस्पतालबाट गरिएको हो। उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता सहभागी हुँदै अस्पताल परिसरमा आयोजित सरसफाइ अभियानमा सरिक भएकी छन् ।

सरसफाइ सप्ताह अवधिभर देशभर विभिन्न सार्वजनिक स्थल, अस्पताल, सरकारी कार्यालय तथा समुदाय स्तरमा सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ।

किन जाँदैछन् ‘ट्रम्प’ चीन भ्रमण ?

एजेन्सी। इरानसँगका विभिन्न विवाद बढिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट भविष्यमै चीनको राजकीय भ्रमण गर्न जाने भएका छन्।

चीनको विदेश मन्त्रालयका अनुसार ट्रम्प मे १३ देखि १५ सम्म चीन यात्रा गर्ने छन्। करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपति चीन आउने भएकाले यो भ्रमण कूटनीतिक रूपमा निकै महत्वपूर्ण मानिएको छ।

ट्रम्पको यात्रा प्रारम्भमा मार्चमा तय भए पनि मध्यपूर्वस्थित अस्थिरता र बढ्दो तनावका कारण स्थगित गरिएको थियो। अब पुनः तय गरिएको यस भेटमा राष्ट्रपति सी जिनपिङसँग उनले उच्चस्तरीय कुराकानी गर्नेछन्। भेटमा मध्यपूर्वको वर्तमान तनाव, विशेषतः स्ट्रेट अफ होर्मुजसम्बन्धी सुरक्षा चुनौती,मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ।

यसअघि केही दिनअघि इरानी विदेशमन्त्री अब्बास अराघची समेत चीन पुगेका थिए। जसलाई क्षेत्रीय कूटनीतिक गतिविधिको सक्रिय संकेतका रूपमा हेरिएको छ।

चीनले स्ट्रेट अफ होर्मुजलाई विश्वको अत्यन्त महत्वपूर्ण व्यापारिक मार्ग भन्दै यसको अवरुद्धी कुनै पनि पक्षका लागि ‘सही विकल्प नभएको’ टिप्पणी गरेको थियो।

बालेन सरकार मौन : सगरमाथा आधार शिविरमा फहरियो भारतीय झन्डा

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर क्षेत्रमा पछिल्लो समय अनाधिकृत तथा अवैधानिक गतिविधि बढ्दै गएको भन्दै सरकारी निगरानीमाथि प्रश्न उठ्न थालेको छ । आरोहण सिजनका क्रममा हजारौँ स्वदेशी तथा विदेशी आरोही, सहयोगी टोली, गाइड र पर्यटकहरू आधार शिविरमा पुग्ने गरे पनि त्यहाँ सरकारी उपस्थिति कमजोर हुँदा राष्ट्रिय संवेदनशीलतासँग जोडिएका गतिविधिसमेत भइरहेका गुनासा सार्वजनिक भएका हुन् ।

आरोहण दलका सदस्यहरूका अनुसार आधार शिविर क्षेत्रमा विभिन्न देशका टोलीहरूले आफूखुसी झन्डा राख्ने, प्रचारात्मक सामग्री प्रदर्शन गर्ने तथा अनुमति नलिइकन विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रवृत्ति बढ्दो छ । यस्ता गतिविधिले नेपालको राष्ट्रियता, सार्वभौमिकता र सगरमाथाको अन्तर्राष्ट्रिय गरिमामाथि असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

यस्ता गुनासाहरु दिनानुदिन बढीरहँदापनि प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) नेतृत्वको सरकार मौन रहेको छ।

यस वर्षको वसन्तकालीन आरोहण सिजनमा सगरमाथाबाट सरकारले उल्लेख्य राजस्व सङ्कलन गरेको छ । पर्यटन विभागका अनुसार सयौँ विदेशी आरोहीलाई अनुमति दिइएको छ भने त्यसबाट करोडौँ रुपैयाँ राजस्व संकलन भएको छ । तर राजस्व सङ्कलन उच्च भए पनि आधार शिविर क्षेत्रमा प्रभावकारी नियमन र निगरानी हुन नसकेको भन्दै आलोचना बढेको छ ।

हालै सामाजिक सञ्जालमा भाइरल बनेको एउटा तस्वीरले यो विषयलाई थप चर्चामा ल्याएको छ । उक्त तस्वीरमा एउटा टेन्टमा नेपाल र भारत दुवै देशका झन्डा राखिएको देखिए पनि भारतीय झन्डा ठूलो आकारमा र नेपाली झन्डा सानो आकारमा देखिएको थियो । त्यसपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको थियो । कतिपयले यसलाई नेपालको राष्ट्रिय अस्मितासँग जोडेर आलोचना गरेका थिए भने केहीले यसलाई सामान्य प्रचारात्मक गतिविधि मात्र भएको बताएका थिए ।

उक्त झन्डा इन्डो-तिब्बत सीमा प्रहरीसँग सम्बन्धित टोलीले राखेको हुनसक्ने अनुमान गरिए पनि त्यसबारे आधिकारिक पुष्टि भने हुन सकेको छैन । सम्बन्धित निकायहरूले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

सगरमाथा आधार शिविरमा पर्यटन विभागको फिल्ड कार्यालय रहे पनि सीमित जनशक्ति, न्यून स्रोत-साधन र जटिल भूगोलका कारण प्रभावकारी अनुगमन गर्न कठिन भइरहेको सरकारी अधिकारीहरू बताउँछन् । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले कठिन हिमाली वातावरणमा काम गर्नुपर्ने भएकाले चुनौती धेरै रहेको स्वीकार गरे ।

उनका अनुसार आधार शिविरमा हाल पाँच जनाको मात्रै सरकारी टोली खटिएको छ । स्वास्थ्य समस्या, अत्यधिक चिसो, अक्सिजनको कमी तथा आवश्यक सामग्रीको अभावका कारण लामो समयसम्म कर्मचारी टिकेर काम गर्न कठिन हुने अवस्था रहेको उनले बताए ।

‘हामीसँग सीमित जनशक्ति छ । जटिल भूगोल र मौसमका कारण सबै गतिविधिमा तत्काल निगरानी गर्न सहज छैन,’ महानिर्देशक लामिछानेले भने, ‘तर पनि टोलीले आफ्नो क्षेत्राधिकारभित्र रहेर अधिकतम काम गरिरहेको छ । अवैध गतिविधि नियन्त्रणका लागि सक्रियता बढाइएको छ ।’

उनले सगरमाथा नेपालको अन्तर्राष्ट्रिय गौरवको प्रतीक भएकाले यसको मर्यादा जोगाउन सरकार गम्भीर रहेको पनि बताए । केही कमजोरीलाई अतिरञ्जित ढंगले प्रस्तुत नगर्न आग्रह गर्दै उनले आरोही र पर्यटकहरूको अत्यधिक चापका बीच व्यवस्थापन चुनौतीपूर्ण बनेको उल्लेख गरे ।

आधार शिविर क्षेत्रमा कार्यरत केही आरोहण गाइड र पर्यटन व्यवसायीहरूले भने सरकारी उपस्थिति अझ प्रभावकारी बनाउनुपर्ने बताएका छन् । उनीहरूका अनुसार आधार शिविरमा विभिन्न विदेशी टोलीहरूले प्रचारात्मक गतिविधि, अनधिकृत भिडियो छायांकन, व्यावसायिक ब्रान्ड प्रदर्शन तथा झन्डा राख्ने काम बढ्दो रूपमा गरिरहेका छन् ।

केही व्यवसायीहरूले सगरमाथा आधार शिविरलाई व्यवस्थित गर्न स्पष्ट आचारसंहिता आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार कुन प्रकारका झन्डा, प्रचार सामग्री वा गतिविधि अनुमति योग्य हुन् भन्ने विषयमा स्पष्ट नियम लागू गरिनुपर्छ ।

यता, पर्यटन विभागको फिल्ड कार्यालयले भने अनुमति बिना राखिएका झन्डा तथा अन्य सामग्री हटाइसकेको जनाएको छ । विभागले आधार शिविर क्षेत्रमा हुने अनाधिकृत गतिविधिमाथि निगरानी बढाइएको र आवश्यक परे थप जनशक्ति परिचालन गरिने जानकारी दिएको छ ।

‘हात नलम्काइबक्स्योस्,आँखा नचम्काइबक्स्योस् महाराज!!!’

मदन भण्डारी नेपालका प्रमुख कम्युनिष्ट नेता तथा नेकपा (एमाले) का महासचिव थिए। उनले नेकपा (माले) र नेकपा (मार्क्सवादी) लाई एकीकरण गरी एमाले गठनमा महत्वपूर्ण भूमिका खेले।  र ‘बहुदलीय जनताको जनवाद’ को अवधारणा प्रस्तुत गरे। जसले नेपाली कम्युनिष्ट राजनीतिलाई लोकतान्त्रिक अभ्याससँग जोड्यो।

२००९ असार १४ गते ताप्लेजुङमा जन्मिएका भण्डारीले बनारस विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गरेका थिए। २०२८ सालपछि उनी सक्रिय राजनीतिमा प्रवेश गर्दै कम्युनिष्ट आन्दोलनका प्रभावशाली नेताका रूपमा स्थापित भए।

भण्डारी २०४८ सालको चुनावमा काठमाडौं क्षेत्र नं. १ बाट विजयी समेत भएका थिए। 

२०४७ सालमा नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापना हुनुअघि भण्डारीलाई एमाले पार्टीभित्र पनि सीमित व्यक्तिहरूले मात्र चिन्थे। 

उनी त्यसबेला भूमिगत राजनीतिक गतिविधिमा सक्रिय थिए। तर बहुदलीय व्यवस्था सुरु भएपछि उनी खुला राजनीतिमा देखा परे।  र छोटो समयमै देशव्यापी रूपमा परिचित बन्न पुगे। त्यसपछि उनका भाषण र राजनीतिक अभिव्यक्तिहरूले जनताको ठूलो ध्यान आकर्षित गर्न थाले।

बहुदल आएपछि भण्डारीका सार्वजनिक कार्यक्रमहरूमा असाधारण भीड देखिन थाल्यो। कतिपय स्थानमा त उनले भाषण सुरु गरेको केही समयमै हजारौँ मानिस उपस्थित भइहाल्थे। 

विशेषगरी काठमाडौंको खुलामञ्चलगायत ठूला सभाहरूमा उनको भाषण सुन्न ठूलो जनसागर जम्मा हुने गर्थ्यो। उनका भाषणका क्रममा दर्शकदीर्घाबाट लगातार ताली र उत्साहपूर्ण प्रतिक्रिया आउने गर्थ्यो। जसले वातावरणलाई निकै उत्साहित बनाउँथ्यो।

उनलाई तत्कालीन समयका सबैभन्दा प्रभावशाली वक्ताहरूमध्ये एक मानिन्थ्यो। उनको भाषण शैली सरल भए पनि गहिरो अर्थ बोकेको हुन्थ्यो। 

जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयवस्तुहरू उनी प्रस्तुत गर्थे। नेपाली समाजको वास्तविक अवस्था, जनताको समस्या र राजनीतिक परिवर्तनको आवश्यकताबारे उनी खुलेर बोल्थे। 

भाषणमा प्रयोग हुने ठेट नेपाली शब्द, मिठासपूर्ण प्रस्तुति र तार्किक शैलीले उनलाई अरू नेताभन्दा अलग बनाएको थियो।

उनको अभिव्यक्तिमा कहिलेकाहीँ कडा राजनीतिक आलोचना पनि सुनिन्थ्यो। तत्कालीन राजनीतिक व्यवस्थाप्रति स्पष्ट र साहसी धारणा राख्ने भएकाले उनलाई युवाहरूले विशेष रूपमा मन पराउँथे। 

उनी जनताको समस्या बुझ्ने मात्र होइन, त्यसलाई राजनीतिक एजेन्डामा रूपान्तरण गर्न सक्ने नेताका रूपमा चिनिन्थे।

अन्तर्राष्ट्रिय स्तरमा पनि उनको चर्चा भएको पाइन्छ। विदेशी सञ्चारमाध्यमहरूले उनको राजनीतिक शैली र विचारधाराबारे सामग्री प्रकाशित गरेका थिए। कतिपय विश्लेषकहरूले उनलाई नेपालका प्रभावशाली राजनीतिक व्यक्तित्वमध्ये एकका रूपमा उल्लेख गरेका थिए। जसले उनको छवि अन्तर्राष्ट्रिय स्तरमा पनि स्थापित गर्‍यो।

तर भण्डारी र तत्कालीन एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा क्षेत्रमा भएको सवारी दुर्घटनामा निधन भएपछि नेपाली राजनीतिमा ठूलो खालीपन सिर्जना भयो। यो घटनालाई लिएर विभिन्न प्रकारका राजनीतिक धारणा र प्रश्नहरू उठ्दै आएका छन्। यद्यपि, घटनाको वास्तविक कारणबारे पूर्ण र स्पष्ट निष्कर्ष भने अझै सार्वजनिक रूपमा स्थापित हुन सकेको छैन।

त्यसपछिको समयमा नेपाली राजनीति विभिन्न चरणहरू पार गर्दै अघि बढ्यो। एमालेका नेताहरू पटक-पटक सरकारको नेतृत्वमा पुगे। भण्डारीकी पत्नी विद्यादेवी भण्डारी पनि पछि देशको राष्ट्रपतिको जिम्मेवारीमा पुगिन्। तर दासढुंगा घटनासम्बन्धी प्रश्नहरू भने लामो समयदेखि ज्यूँका त्यूँ छन्।

२०४७ साल चैत ५ गते काठमाडौंमा भएको  एक चुनावी सभामा भण्डारीले दिएको  मन्तव्य सबैभन्दा चर्चित थियो । यहीँबाट उनले तत्कालिन राजालाई चुनौति दिएका थिए । 

त्यो चुनावीसभामा उनले गरेको भाषणको केहि अंश जस्ताको त्यस्तै : 

‘हामीले त यो भनेका छौँ जुन त्रिपक्षीय सम्झौता हो। त्यो त्रिपक्षीय सम्झौतालाई पालन गरेर ढुक्कसँग कुनै हात नलम्काइकन, आँखा नचम्काइकन राजा यदि बसिरहन्छन् भने अहिले हामीलाई केही आपत्ति छैन। राजा मान–सम्मान पाएर बसिरहुन्। 

यो कुरा सुन्दाखेरी, यो कुरालाई हामीले बाहिर अभिव्यक्त गर्दाखेरी धेरै ठाउँबाट हाम्रा केही कम्युनिष्ट आन्दोलनभित्रकै मित्रहरूले हामीलाई भनेका छन्, ‘यिनीहरू त राजावादी भए।’

अब मैले यसको धेरै ठाउँमा खण्डन गरेको छु। र म यहाँ पनि दुई शब्द के राख्न चाहन्छु भने अहिलेको यो शक्ति-सन्तुलनको स्थितिमा, वर्गसंघर्षको स्थितिमा राजाले शान्तिका साथ हकअधिकार र राजनीतिक अधिकारका कुराहरू जनतालाई सुम्पिएर मानसम्मानको उपभोग गर्दै त्यस ढंगले बसिरहन्छन् भने अहिलेलाई हामीलाई कुनै आपत्ति छैन भनेका हौं। र यो भन्दाखेरी अर्थात् राजासँग सम्झौता गर्दाखेरी हामी अराजावादी भएका छैनौं। 

हामी राजावादी होइनौं। नोट गरेर राखे हुन्छ पत्रकार बन्धुहरूले। कृपा गरेर यो लेखिदिए हुन्छ कि यो एकीकृत पार्टी राजावादी पार्टी होइन। राजालाई मान्ने हाम्रो राजनीतिक विश्वास होइन। राजालाई मान्नु बाध्यता हो। अहिलेको स्थितिको यो कुरा नारायणहिटीले पत्तो पाए पनि केही बिग्रँदैन।

तर मेरो बुद्धिजीवीहरूलाई अनुरोध छ। पत्रकारहरूलाई एउटा अनुरोध छ कि कुरा के भने तपाईंहरूले कहिल्यै राजा वीरेन्द्रलाई मौका पाएर सोध्नुभएको छ ? कि महाराज नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्सवादी लेनिनवादीप्रति महाराजको के धारणा छ ? अब यो मेरो प्रश्न सुन्दा धेरैलाई यसले बडो अचाक्ली र नहुने खालको प्रश्न गर्‍यो भन्ने पनि त मनमा लाग्ला। किन ? हामी दुइटा राजनीतिक पक्षहरू, दुइटा राजनीतिक शक्तिहरू। राजा एउटा शक्ति हो र कम्युनिष्ट अर्को शक्ति हो। अनि त्यसमा के त्यस्तै नियतिले निश्चित गरेको छ कि हामीले नै राजाप्रति जम्लाहा हात गरेर उभिनु परोस् र राजाले चाहिं हामीसँग जम्लाहा हात गर्नु नपरोस्। त्यसो हुँदा यो पारस्परिक सवाल हो।

अहिले त राजाले पनि हामीलाई समाप्त पार्न चाहेका थिए। सकेनन्। सकेको भए राजाले हामीलाई यस ढंगले मैदानमा आउन दिने थिएनन्। धेरै त उनले समाप्त पनि पारे। र कुनै पनि फटाहाले राजाको अनुकम्पाद्वारा यो प्रजातन्त्र आएको छ भनेर प्रचार गर्छ भने गर्दै रहोस्। चैत २७ गते गिरिजाबाबुको पनि त्यस्तै भनाइ थियो।

तर पनि दुनियाँलाई थाहा छ कि २०४६ साल फागुन ७ गतेदेखि चैत २६ गतेसम्म यहाँ सयौं आन्दोलनकारीहरू जुन हताहत हुनुपर्‍यो, त्यो अरू कसैको आदेशले होइन। त्यो मरिचमानको कुनै त्यस्तो बुता थिएन कि मान्छे मार्न आँट गरोस् त्यसले।

त्यो त महाराजाको कृपा हो भन। यत्रो घोडामा सवार भएर, मदले मात्तिएर, आँखा चिम्लिएर तीस हजारभन्दा बढ्ता मान्छेहरू मारेर भए पनि पञ्चायतलाई जोगाउनुपर्छ भनेर भन्ने महाराज र महारानीहरू घोडाबाट ओर्लिएर आन्दोलनकारीहरूसँग सम्झैता गर्न आउनुपर्‍यो । महाराजले, बादशाहले घोडाबाट ओर्लिएर जम्लाहा हात गर्नुपर्‍यो।

त्यसो हुँदा यो अनुकम्पाले आएको प्रजातन्त्र होइन। र अब पनि यो थाहा पाएर केही बिग्रिँदैन। तर मैले भन्न खोजेको कुरा के हो भने यो बाध्यताको कुरा हो कि हामीले यसबेला राजासँग सम्झौता गर्नुपर्‍यो । र अब यो बाध्यतापूर्वक नै सम्झौता गरिए भए पनि हामी फेरि वचनबद्धताप्रति इमानदार भएर उभिन चाहन्छौं।

मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने हो भने, यदि सण्डमुण्डहरूलाई नै अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर, सिंहासनमा राखेर, मैदानमा नेता भएर आउनुपर्‍यो  ताकि प्रतिद्वन्द्विता गर्न सकियोस्। 

यसो भएको हुनाले यो त बाध्यताको कुरा हो। र यदि अघि मैले अनुरोध गरेँ, यहाँहरूसँग कि राजासँग प्रश्न गर्ने हो भने मलाई लाग्छ, शायद राजाले पनि भन्नेछन् कि यो त एउटा बाध्यताको कुरा हो, म त कहाँ कम्युनिष्ट मान्छु र ? यसो हुनाले यो पारस्परिक कुरा हो।’

एआई र रोबोटिक्समा द. कोरियाको फड्को : बौद्ध भिक्षु बन्यो रोबोट

काठमाडौं। एआई र रोबोटिक्सको तीव्र विकासले विश्वभर नयाँ-नयाँ सीमाहरू पार गर्दै गर्दा दक्षिण कोरियामा भएको एउटा अनौठो घटनाले प्रविधि र आध्यात्मिकताको सम्बन्धलाई नै नयाँ कोणबाट उजागर गरिदिएको छ। सियोलको जोगिसा मन्दिरमा पहिलोपटक ‘गाबी’ नामक ह्युमानोइड रोबोटलाई औपचारिक रूपमा बौद्ध भिक्षु बनाइएको छ।

परम्परागत पोशाक लगाएर, हात जोडेर नमस्कार गर्दै, भिक्षु दीक्षाका नियम स्वीकार गर्ने प्रक्रिया पार गरेर गाबीलाई मठ समुदायको सदस्य घोषित गरिएको यो क्षण आजसम्मका सबै रोबोटिक प्रयोगभन्दा फरक र ऐतिहासिक मानिएको छ।

दीक्षा समारोहको दृश्य अत्यन्तै असामान्य तर गम्भीर थियो। शताब्दीऔं पुरानो परम्परागत रीतिथीतिमा एक रोबोटलाई समावेश गरिएको पहिलो दृश्य। लगभग १३० से.मि. अग्लो गाबीले बौद्ध भिक्षुले लगाउने पहिरन पहिर्‍यो। समारोहका क्रममा भिक्षुहरूले सोधिने प्रश्नहरूको विधिवत् उत्तर दियो।  र सम्पूर्ण प्रक्रिया मानिसजस्तै गम्भीरताका साथ पूरा गर्‍यो।

उपस्थितहरूका अनुसार यो कुनै प्रदर्शन वा प्रोमोशनल कार्यक्रम थिएन; यो बौद्ध धर्मका विधिलाई पूरा सम्मान दिँदै प्रविधिलाई धार्मिक संस्कारमा जोडिएको क्षण थियो। दीक्षा पूरा भएपछि गाबीलाई आधिकारिक रूपमा भिक्षु-समुदायका सदस्यहरूले स्वीकार गरे। जसले रोबोटलाई केवल मेशिन होइन, धार्मिक सहयात्रीको रूपमा पनि चिनाउने प्रक्रिया प्रारम्भ गरिदियो।

गाबीको दीक्षा केवल समारोहमा सीमित थिएन। यसको अघि नै लामो ‘धार्मिक प्रशिक्षण’ गराइएको थियो। विशेषज्ञहरू र वास्तविक भिक्षुहरूले मिलेर गाबीका एआई मोड्युलहरूमा बौद्ध ग्रन्थ, दार्शनिक सिद्धान्त, ध्यान विधि, आचारसंहिता र आध्यात्मिक संवादका आधारभूत संरचना इनपुट गरे।

प्रारम्भिक भिक्षु (नवदीक्षित) जस्तै गाबीलाई अनुशासन, आत्म-संयम र आध्यात्मिक प्रश्नहरूको अर्थ बुझ्न मिल्ने गरी प्रोग्रामिङ गरियो। यही कारण आज गाबी मन्दिरमा आउने मानिसलाई प्रार्थना कसरी गर्ने, ध्यान कसरी बस्ने, जीवनका समस्यामा बौद्ध दृष्टिकोण कस्तो हुन्छ भन्ने विषयमा सरल तर प्रभावकारी उत्तर दिन सक्षम छ।

 एशियाका धेरै मुलुकमा अहिले भिक्षुहरूको संख्या उल्लेखनीय रूपमा घट्दै गएको छ। विशेषगरी युवा पुस्ताको रुचि आध्यात्मिक अनुशासनमा कम हुनु, जीवनशैली बढ्दो व्यस्त हुनु र दीर्घकालीन धार्मिक प्रतिबद्धताप्रति उदासीनता बढ्नु प्रमुख कारण मानिन्छ।

अर्कातिर वृद्ध भिक्षुहरूको संख्या बढ्दै गइरहेकाले मन्दिर र गुम्बाहरू सञ्चालन गर्न कठिनाइ बढिरहेको छ। यस्तो अवस्थामा गाबी जस्ता रोबोटहरूलाई सहायक-भिक्षुको रूपमा प्रयोग गर्न खोजिएको हो। जसले भक्तजनलाई मार्गदर्शन गर्न, मन्दिरका सामान्य प्रशासनिक काममा हात बाँड्न, आगन्तुक व्यवस्थापन गर्नदेखि ध्यान सिकाउनेसम्मका कार्य सहज बनाउन सक्छ।

निर्माण टोलीका अनुसार, गाबी मानव भिक्षुको स्थान लिन होइन, उनीहरूलाई समर्थन गर्ने उद्देश्यले विकास गरिएको हो।

जापानमा ‘बुद्धारोइड’ जस्ता रोबोटहरू प्रारम्भिक रूपमा धार्मिक सेवा, संवाद र उपदेशका लागि प्रयोगमा आइसकेका छन्। त्यहाँ धेरै पुराना मन्दिरहरू बन्द हुने अवस्थामा पुगेपछि यस्तो प्रविधिको आवश्यकता थप बढेको थियो। दक्षिण कोरियामा पनि विगत केही वर्षदेखि धर्म र प्रविधि जोड्ने विभिन्न प्रयोगहरू भइरहे तर पूर्ण रूपमा दीक्षा दिइएको रोबोट भने गाबी नै पहिलो हो।

गाबीले कयौँलाई उत्साहित बनाएको छ भने कयौँका मनमा प्रश्न पनि उब्जाएको छ। आध्यात्मिकता भन्ने कुरा भावनासँग सम्बन्धित हुन्छ। दया, करुणा, पीडा, चेतना, अनुभूतिजस्ता मानवीय गुण बिना रोबोटले धर्मलाई कसरी आत्मसात् गर्छ? रोबोटले सिकेको ज्ञान दोहोर्याउन सक्छ तर ‘चेतनाको गहिराइ’ महसुस गर्न सक्छ?

धर्मलाई डिजिटल प्रश्न-उत्तर प्रणालीमा सीमित गर्ने जोखिम के हो? जस्ता प्रश्नहरू सामाजिक र दार्शनिक तहमा छलफल भइरहेका छन्। तर समर्थकहरू भन्छन्।  यदि प्रविधिले मानिसलाई आध्यात्मिक यात्रा बुझ्न मद्दत गर्छ भने यो नयाँ सम्भावना नै हो।

गाबी केवल एउटा रोबोट होइन। धार्मिक संस्थाहरूले भविष्यमा प्रविधिलाई कसरी आत्मसात् गर्न सक्छन् भन्ने दिशानिर्देश पनि हो। ध्यान र प्रार्थना सिकाउने, आगन्तुकलाई सहजीकरण गर्ने, मन्दिरका दैनिक काममा सहयोग गर्ने र डिजिटल-आधारित आध्यात्मिक मार्गदर्शन प्रदान गर्ने क्षमतासहित गाबीले धार्मिक अनुभवलाई नयाँ ढङ्गले परिभाषित गरिदिएको छ।

यद्यपि धर्म, आध्यात्मिकता र चेतनाको विषयमा रोबोट कत्तिको गहिराइसम्म जान सक्छ भन्ने प्रश्न खुलै छ। तर एउटा तथ्य स्पष्ट छ,जोगिसा मन्दिरको यो प्रयोगले भविष्यका धार्मिक अभ्यासहरूलाई प्रविधिसँग जोड्ने नयाँ ढोका खोलेको छ।

मानिस र एआईबीच सहअस्तित्वको नयाँ अध्याय यसैसँग सुरु भएको विश्लेषकहरुको तर्क छ ।

थेम्सको लहरमा तमोरको स्पर्श : नारी संवेदना, आत्मसम्मान र पहिचानकाे काव्यात्मक प्रकटीकरण

काठमाडौं । कविता अनुभूति नै हो । अनुभूति हामी सबैमा हुन्छ। प्रत्येक व्यक्तिका आ-आफ्ना जीवन कथाहरू हुन्छन्, अनुभूति हुन्छन्। तर, त्यो अनुभूतिलाई केही मान्छेले मात्रै व्यक्त गर्न सक्छन्। व्यक्त गर्ने आफ्ना-आफ्ना विधा हुन्छन्।

कविता एउटा सशक्त विधा हो। आख्यान अर्काे सशक्त विधा हो। यो ‘थेम्सको लहरमा तमाेरको स्पर्श’ कृति नेपाली कविताको इतिहासमा एउटा महत्त्वपूर्ण कृति हो । वास्तवमा, यसका कविताहरू अत्यन्तै शक्तिशाली छन्। ती कविताहरू मैले मुख्य रूपमा नारी संवेदनाकै दृष्टिकोणले बुझ्ने प्रयास गरेँ। विभिन्‍न दृष्टिकोण आउँछन् कवितामा त। अनेक भावनाहरू समेटिएका हुन्छन् तर केही महत्त्वपूर्ण कुराहरूलाई मात्रै म तपाईंहरू सामु राख्छु।

एउटा चाहिँ नारी संवेदना नै हो। त्यो नारी संवेदना वाचन गरिएको कवितामा मात्रै नभएर तीन-चारवटा कविताहरूमा त्यो छ। ‘किन किनारिन्छन् आमाहरू ?’ भन्ने एउटा कविता छ। ‘प्रेम’काे कविता छ । यस्ता अन्य कविता पनि छन्। यी कविताहरूमा नारी संवेदना अत्यन्त सशक्त ढंगमा पोखिएको मैले भेटेँ। नारी संवेदना कस्तो हुन्छ भन्‍ने बुझ्न लिम्बु कल्चरमा प्रचलित ‘माङ्‍गेन्‍ना’ शब्द यो कृतिभित्र आएको छ। त्यो ‘माङ्‍गेन्‍ना’ शब्दको अर्थ आत्म-सम्मान भन्‍ने हुँदो रहेछ। त्यो आत्मसम्मानको दृष्टिकोणले नारी संवेदनालाई कविले बुझेको पाएँ । आमाहरूको ठूलो योगदान हुन्छ – घरपरिवार चलाउन। नारीबिना सम्पूर्ण सृष्टि ठप्प हुन्छ। छोराछोरी जन्माउनेदेखि हुर्काउने, लालनपालन गर्नेदेखि छोराछोरीको दायित्व उठाउने जिम्मा जीवनको पहिलो गुरु मानिएको छ-  कविताहरूमा।

आमाको महत्त्व बुझ्नुको अर्थ हो- वात्सल्य र मातृत्व । त्यो प्रकृतिले नै दिएको हो। आमा नै त्यस्तो सृष्टिकर्ता हुन् । बच्चाको माया आमालाई जति हुन्छ, त्यो प्रकृतिले नै बाउलाई कम दिन्छ। दायित्व, सामाजिक दायित्वको रूपमा पुरुषले त्यो जिम्मा उठाउँछ। किनभने यो पितृसत्ता हो। छोरी जन्मिनेबित्तिकै नाक खुम्च्याउने, अर्काको घरमा जाने, नासो सुम्पिने र छोरो जन्मिँदा गर्व गर्ने जुन हाम्रो सामाजिक र पितृसत्तात्मक सोच छ, त्यस विरुद्ध चार-पाँचवटा कविता त यति सशक्त छन्, तपाईंहरू आफैँ पढ्नुस्। म आमा दिदीबहिनीहरूलाई नै यो सङ्ग्रह पढ्न अनुरोध गर्छु। हामी मानवले अनुभूति गर्छौं तर सर्जकहरूले मात्रै अभिव्यक्त गर्न सक्छन् र त्यो अभिव्यक्त गर्ने जुन शक्ति हुन्छ, यो कविता सङ्ग्रहमा काव्यात्मक शक्तिकाे प्रकटीकरण भएकाे छ।

कविताहरु खारिएको लेखकले लेखेजस्तो छ । त्यो भर्खर सिकारु कवि-लेखकले लेखेजस्तो होइन। कुनै विषयलाई छोटोमा, ठ्याक्कै मर्म पुर्‍याएर एउटा सिंगो महाकाव्यले भन्‍ने कुरा एउटै कवितामा भन्‍न सक्नु चानचुने सिर्जनात्मक शक्ति होइन। यो ठूलो शक्ति हो। त्यही शक्तिका कारणले कविहरू आफू मरेर जाँदा पनि कृति अमर छोडेर जान्छन्। नेपाली कविताको इतिहासमा यो कृति अमर रहन्छ। मलाई पक्का विश्वास छ।

दोस्रो, ‘माङ्‍गेन्‍ना’लाई आत्मसम्मानको रुपमा कविताहरूमा  सशक्त रूपमा उठाइएको छ । वास्तवमा कसैको पनि शीर ढल्नु हुँदैन भन्ने मुन्धुममा कथा नै आउँदो रहेछ। मान्छेको सृष्टि गर्दाखेरि पाेराेक्मी यम्भामीलाई तागेरा निङ्‍वाभुमाङले मान्छे बनाउने जिम्मा दिएको, पृथ्वीलाई मान्छेबिना नभएकाे र अलिकति शून्यजस्तो भयो भन्‍ने कथा मुन्धुममा आउँदो रहेछ । अनि सुली र खरानेको बनाएपछि मान्छे बोल्यो। सुनचाँदीको बनाउँदा बोलेन। पछी थुक्क भनेर थुक्दियो। त्यसो गरेपछि उसको शिर निहुरियो। अनि फेरि शिर उठाएको कथा छ ।

हामी आफैँ विचार गरौँ न । समाजमा हामीलाई कसैले हेप्यो भने चसक्क मन दुख्छ। आत्मसम्मानमा चोट लाग्छ। त्यो आमा दिदीबहिनीमा पनि हुन्छ । प्रत्येक पुरुषलाई पनि हुन्छ, नारीलाई पनि हुन्छ। त्यो कसैले कसैलाई हेप्नु हुँदैन भन्‍ने संस्कारबाटै आएको त्यो माङ्‍गेन्‍नाकाे संस्कारबारे मैले धेरै वटा कवितामा पढेँ । ‘प्रेम’ कविता पढेँ। त्यो कवितामा बराबरको कुरा उठाइएको छ। म तिमीलाई प्रेम गर्छु, जसरी निस्वार्थ, तिमीले पनि त्यसरी नै गर्नुपर्छ। म तिमीलाई सम्मान गर्छु जसरी, तिमीले पनि सम्मान गर्नुपर्छ। यदि यसरी एक अर्कालाई सम्मान नगर्ने हो भने, यो समाज, यो सभ्यताको कुरामा धेरै पछाडि पर्छ भन्ने सेन्समा त्यो कुरा छ। अनि, आफूलाई जे कुरामा असहमति लागेको छ, त्यसमा विद्रोही स्वरहरू छन् तर त्यो विद्रोही स्वर नाराको रूपमा नभएर साहित्यिक, काव्यात्मक शैली तर प्रस्तावको रूपमा सभ्य भाषामा व्यक्त गरिएको छ।

यहाँ डायस्पोराको कुरा छ । मुकुम्लुङ र फक्ताङलुङ दुईवटा स्थानको नाम आउँछ । तमोर नदीको नाम आउँछ र थेम्स नदीको नाम आउँछ। थेम्सलाई एउटा सभ्यताको दृष्टिकोणले यहाँ प्रस्तुत गरेको र मुकुम्लुङ र फक्ताङलुङलाई आदिम भूमि, जन्मभूमि, याक्थुङहरूको उत्पत्तिस्थल मान्‍ने कुराबाट हेरेको देखिन्छ । तमोर र थेम्स नदीको विम्ब चाहिँ कस्तो यहाँ छ भने तमोर बगेर समुद्रमा पुगेजस्तै थेम्स नदी पनि समुद्रमै पुग्छ। तमोर नदीको किनारमा अथवा मुकुम्लुङकाे फेदमा जन्मिएको मान्छे आफ्नो मातृभूमि छोडेर जसरी तमोर समुद्रमा पुग्छ, मिसिन्छ, विलय हुन्छ, त्यसरी नै त्यो थेम्सको नदीमा विलय हुने हो कि, आफ्नो ‘आइडेन्टिटी’ हराउने हो कि ? फक्ताङलुङले मलाई  गुमाएको हो कि, मैले फक्ताङलुङलाई गुमाएको हो? प्रश्‍न छ त्यहाँ। त्यो सबै कविताहरू प्रश्‍नको रूपमा छन्। यो प्रश्‍नात्मक शैली यति बेजोड छ कि समाजमा खाली प्रश्‍न छ। प्रश्‍नको जवाफ प्रत्येक पाठकले सोच्‍नुपर्छ। पाठकलाई अर्थमा घाेत्लिन कविताले बाध्य बनाउँछ। त्यो नै कविताको शक्ति हाे ।

पाठकको संवेदना र लेखकको संवेदनाको भाव त एउटै हो, जसले आफ्नो भाषा, संस्कृति, पहिचान हराउँदै गएको महसुस गरेको छ। त्यो कुराको महसुस त सबैलाई छ। तर, त्यो कवितामा प्रश्‍नकाे रूपमा जब आउँछ, प्रत्येक पाठकले कविता पढ्दा त्यो महसुस गर्छ। त्यसकारणले त्यो डाइस्पोरिक चिन्तनले हेरिएको हो।

हाम्रो गोर्खाको इतिहास पनि आउँछ कवितामा । उनीहरूको स्मृति आउँछ। उनीहरूको गुम्दै गएको पहिचान आउँछ र आफ्नो भूमिप्रतिको मोह, मातृ मोह पनि आउँछ। यो डाइस्पाेरिक चिन्तनले, नारी संवेदनाको दृष्टिकोणले र माङ्‍गेन्‍नाकाे दृष्टिकोणले नि:सन्देह कविताहरू अत्यन्तै शक्तिशाली छन्। याे कृति आफैँ पढ्नुहोला ।

शान्ति लिम्बूकाे कविता कृति ‘थेम्सको लहरमा तमोरको स्पर्श’ माथि डा. तुलसी गाैतमले शनिबार गरेकाे समालाेचना

बालेनको शैलीप्रति डा.विकेको असहमति, ‘व्यक्तिभन्दा विधि माथि हुनुपर्छ’

काठमाडौं। जेनजी अभियन्ता डा. जगत विकेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ का पछिल्ला गतिविधि र अभिव्यक्तिप्रति असहमति जनाएका छन् । यसअघि बालेनका विभिन्न निर्णयमा समर्थन जनाउँदै आएका उनले पछिल्लो समय राज्यका संस्थाबीचको शक्ति सन्तुलन कमजोर पार्ने प्रवृत्ति देखिएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै डा. विकेले लोकतान्त्रिक शासन व्यवस्था विधिसम्मत प्रक्रिया, संवैधानिक मर्यादा र संस्थागत सन्तुलनका आधारमा सञ्चालन हुनुपर्ने बताएका छन् । उनले कार्यकारी शक्तिले सर्वोच्च अदालतजस्तो स्वतन्त्र संवैधानिक निकायलाई आफ्नो प्रभावमा चल्ने संरचनाजस्तो देखाउन खोज्नु खतरनाक संकेत भएको उल्लेख गरेका छन् ।

उनका अनुसार लोकतन्त्रको मूल आधार नै शक्ति सन्तुलन, कानुनी शासन र संस्थागत स्वायत्तता हो । कुनै पनि व्यक्ति, पद वा शक्ति कानुनभन्दा माथि नहुने सिद्धान्तलाई कमजोर बनाउने प्रयासले लोकतान्त्रिक अभ्यासलाई नै क्षति पुर्‍याउन सक्ने उनको भनाइ छ ।

डा. विकेले ‘व्यक्तिभन्दा विधि माथि हुनुपर्छ’ भन्ने लोकतान्त्रिक मान्यता अहिले चुनौतीमा परेको टिप्पणी गरेका छन् । उनले कार्यपालिकाले आफूलाई सबैभन्दा शक्तिशाली केन्द्रका रूपमा प्रस्तुत गर्न खोजेको देखिएको भन्दै यसलाई राज्य संरचनामाथिको गम्भीर हस्तक्षेपको रूपमा व्याख्या गरेका छन् ।

उनले संस्थाभन्दा व्यक्तिलाई शक्तिशाली बनाउने मानसिकतालाई राणा शासनपछिकै सबैभन्दा खतरनाक प्रवृत्तिको संज्ञा दिएका छन् । संसदीय व्यवस्थामा व्यक्ति अस्थायी हुने तर संस्था स्थायी हुने उल्लेख गर्दै उनले संस्थागत मर्यादा जोगाउनु लोकतन्त्रको दीर्घकालीन सुरक्षाका लागि आवश्यक रहेको बताएका छन् ।

डा. विकेले आलोचनालाई लोकतन्त्रको अपरिहार्य पक्षका रूपमा लिनुपर्ने धारणा पनि राखेका छन् । ‘आलोचना भनेको शत्रुता होइन, लोकतन्त्रलाई सही दिशामा राख्ने जिम्मेवार नागरिक चेतना हो,’ उनले उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा आलोचनामाथि हुने आक्रामक प्रतिक्रिया र अन्धसमर्थनप्रति पनि संकेत गर्दै लोकतान्त्रिक बहसलाई सभ्य र जिम्मेवार बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

 

रविसँग ११ अर्ब बचत फिर्ता माग, के गर्लान् त रविले बाचा पूरा? (भिडियो)

काठमाडौं। ११ अर्ब बचत फिर्ताको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नाममा सहकारी पीडितहरूले ज्ञापनपत्र बुझाएका छन् ।

रविको दल रास्वपा यतिबेला सरकारमा छ । प्रधानमन्त्री बालेन छन् । निर्वाचनअघि १०० दिनमै सहकारीको बचत फिर्ताको बाचा रवि र प्रधानमन्त्री बालेनले गरेका थिए ।

सोहीअनुसार बालेन सरकार गठन भएको डेढ महिना बित्दा ११ अर्ब बचत फिर्ताको माग गर्दै धरानदेखि एउटा टोली काठमाडौं आएर रास्वपा सभापति लामिछानेलाई सम्बोधन गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

लामिछाने व्यस्त भएको भन्दै ज्ञापनपत्र महामन्त्री कविन्द्र बुर्लाकोटीसहितले बुझेका छन् । धरानको बराह सहकारीबाट पीडितहरूले ज्ञापनपत्र बुझाउँदै बचत फिर्ता गराउन माग गरेका छन् ।

तर, उनीहरूले सरकार र मन्त्रालयका अधिकारीहरूको कुरा सुन्दा भने निराश भएको बताएका छन् । रास्वपा सभापति रवि लामिछाने आफैं सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाका आरोपी हुन् ।

उनी राजनीतिमा आउनुअघि प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी फोरके टेलिभिजनमा देशका विभिन्न सहकारीका अर्बौँ रुपैयाँ अपचलन भएको थियो । अझै पनि रवि सहकारी ठगीबाट दोषमुक्त भएका छैनन् ।

यस्तोमा उनलाई धरानको बराही सहकारीपीडितले ११ अर्ब बचत फिर्ता गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । यसले रविलाई थप संकट निम्तिएको छ ।

जावालाखेलबाट रविले भने – ‘म इतिहास लेख्न आएको हुँ’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू राजनीति व्यक्तिगत जीवनी लेख्न नभई इतिहास रच्न आएको बताएका छन् ।

पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले आफ्नो राजनीतिक उद्देश्य सत्ता पद प्राप्ति मात्र नभएको स्पष्ट पारे ।

‘कसैलाई लाग्ला, पार्टी सभापति बन्न, मन्त्री वा प्रधानमन्त्री बन्ने उद्देश्यमा लागेर हिँडेको भन्ने लाग्छ भने त्यो भ्रम मात्र हो,’ लामिछानेले भने, ‘म जीवनी लेख्न हिँडेको होइन, इन्ट्रेस्ट पनि छैन, बरु इतिहास लेख्न हिँडेको हो ।’

उनले रास्वपाका सांसदहरूलाई पनि व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर काम गर्न आग्रह गरे । उनका अनुसार राजनीति पद, जिम्मेवारी वा व्यक्तिगत लाभका लागि होइन, देश परिवर्तनका लागि हुनुपर्छ ।

लामिछानेले रास्वपाले चुनावमा प्राप्त गरेको जनमतलाई ‘नयाँ राजनीतिक अध्यायको सुरुवात’ भएको रूपमा व्याख्या गरे । पुराना राजनीतिक दलहरूको तुलनामा रास्वपा छोटो समयमै जनताको विश्वास लिएर अघि बढेको उनले बताए ।

उनले थपे, ‘पुराना दलहरूले जस्तो ठूलो सङ्घर्ष हामीले अहिले गर्नुपरेको छैन, तर यसको अर्थ हामी सजिलो बाटोमा छौँ भन्ने होइन, जिम्मेवारी अझ ठूलो छ ।’

सभापति लामिछानेले पार्टीका सांसदहरूलाई आगामी पाँच वर्ष कानुन निर्माण र नीति सुधारमा केन्द्रित भएर काम गर्न निर्देशन दिए । उनले कतिपय नेताहरूले व्यक्तिगत पद र जिम्मेवारीको अपेक्षा गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै अहिले नै व्यक्तिगत योगदानको मूल्य माग्ने समय नभएको स्पष्ट पारे ।

उनका अनुसार पार्टीभित्र गुनासोभन्दा पनि काममा ध्यान दिनु आवश्यक छ र जनताको अपेक्षा पूरा गर्नु नै प्रमुख जिम्मेवारी हो ।

जंगली च्याउ खाँदा  एकै परिवारका ११ जना बिरामी

झापा । जंगली च्याउ सेवन गर्दा झापामा एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारका सदस्यहरू च्याउ खाएपछि बिरामी भएका हुन् ।

प्रहरीका अनुसार घरमा पकाइएको जंगली च्याउ खाएपछि परिवारका सबै सदस्यको स्वास्थ्यमा समस्या देखिएको हो । बिरामी हुनेहरूमा ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित आठ जना बालबालिका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार बिरामी परेकाहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएकाले नौ जनालाई दमकस्थित बाल अस्पतालमा रिफर गरिएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार बिरामीमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य छ । चिकित्सकहरूको निगरानीमा उनीहरूको उपचार भइरहेको बताइएको छ ।

घटनापछि प्रहरीले जंगली च्याउ सेवन गर्दा विषाक्त हुने जोखिम उच्च रहने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । पहिचान नभएका वा परीक्षण नगरिएका च्याउ खानु स्वास्थ्यका लागि खतरनाक हुन सक्ने भन्दै प्रहरीले सचेतना अपनाउन अनुरोध गरेको छ ।

 

माइक्रोसफ्टभित्रै क्लाउड एआई : एन्थ्रोपिकले सार्वजनिक गर्‍यो नयाँ सुविधा

काठमाडौं। एन्थ्रोपिकले माइक्रोसफ्ट ३६५ एड-इन्स औपचारिक रूपमा सार्वजनिक गरेपछि अब योग्य प्रयोगकर्ताले एक्सेल, पावरपोइन्ट र वर्डभित्रै क्लाउड एआई प्रयोग गर्न सक्ने भएका छन् । साथै, आउटलुकमा क्लाउडको इन्टिग्रेसन पनि सार्वजनिक बिटा चरणमा पुगेको छ ।

नयाँ सुविधासँगै क्लाउड एआई अब सामान्य च्याटबटमा मात्र सीमित नरही माइक्रोसफ्टका अफिस एपहरूभित्रै डकुमेन्ट तयार गर्ने, सम्पादन गर्ने, विश्लेषण गर्ने तथा विभिन्न कार्य स्वतः सम्पन्न गर्न सक्ने स्तरमा पुगेको एन्थ्रोपिकले जनाएको छ ।

एन्थ्रोपिकका अनुसार क्लाउड फर एक्सेल, पावरपोइन्ट र वर्ड पहिलो पटक अक्टोबर २०२५ मा माइक्रोसफ्ट ३६५ एपहरूसँग एकीकृत रूपमा परीक्षण गरिएको थियो । अहिले भने यो सुविधा औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

यसलाई एन्थ्रोपिक र माइक्रोसफ्टबीचको सहकार्य अझ बलियो बनेको संकेतका रूपमा हेरिएको छ । गत वर्ष माइक्रोसफ्टले आफ्नो कोपाइलट प्रणालीमा पनि एन्थ्रोपिकका एआई मोडेल समावेश गरेको थियो ।

हाल यो सुविधा सबै प्रयोगकर्ताका लागि खुला गरिएको छैन । क्लाउड प्रो, म्याक्स, टिम र इन्टरप्राइज सब्स्क्राइबरहरूले मात्रै माइक्रोसफ्ट ३६५ भित्र क्लाउड एआई प्रयोग गर्न सक्नेछन् ।

यो सुविधा वेब, विन्डोज र म्याक प्लेटफर्ममा उपलब्ध रहेको छ भने एक्सेल संस्करण आइप्याडमा पनि प्रयोग गर्न सकिने बताइएको छ । व्यक्तिगत प्रयोगकर्ताले माइक्रोसफ्ट मार्केटप्लेसबाट डाउनलोड गरेर प्रयोग गर्न सक्नेछन् भने इन्टरप्राइज प्रयोगकर्ताले एडमिनमार्फत एक्टिभेसन लिनुपर्ने हुन्छ ।

क्लाउड एआईले एक्सेलभित्र वर्कबुक सम्बन्धी प्रश्नहरूको उत्तर दिन, डेटा अपडेट गर्न, त्रुटि सुधार गर्न तथा अन्य टुलबाट जानकारी ल्याउन सहयोग गर्ने बताइएको छ । यसले जटिल डेटा व्यवस्थापनलाई सहज बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

पावरपोइन्टमा क्लाउड एआईले स्लाइड तयार गर्ने, सम्पादन गर्ने, सम्पूर्ण प्रस्तुति बनाउने तथा चार्ट र डायाग्राम थप्ने काम गर्न सक्छ । यसले प्रस्तुति तयार गर्ने समय उल्लेखनीय रूपमा घटाउने दाबी गरिएको छ ।

वर्डभित्र क्लाउड एआईले डकुमेन्टसम्बन्धी प्रश्नको उत्तर दिने, चयन गरिएको टेक्स्ट सम्पादन गर्ने, स्टाइल र फर्म्याटिङ सुरक्षित राख्ने तथा टेम्प्लेटअनुसार सामग्री तयार गर्ने सुविधा दिन्छ ।

यसले कमेन्ट थ्रेड पढेर त्यसअनुसार सामग्री परिमार्जन गर्न पनि सक्षम रहेको एन्थ्रोपिकले जनाएको छ ।

एन्थ्रोपिकले क्लाउड फर आउटलुकलाई सार्वजनिक बिटा चरणमा उपलब्ध गराएको छ । हाल यो सुविधा वेब, विन्डोज र म्याकमा सीमित प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् ।

आउटलुकभित्र क्लाउड एआईले इनबक्समा रहेका नपढिएका इमेल विश्लेषण गरेर महत्वपूर्ण सन्देश छुट्याउन सक्छ । साथै, प्रयोगकर्ताको लेखन शैलीअनुसार रिप्लाइ ड्राफ्ट तयार गर्न पनि सहयोग गर्ने बताइएको छ ।

यसका अतिरिक्त लामो इमेल थ्रेडको सारांश तयार गर्ने, अट्याचमेन्ट पढ्ने, मिटिङ तालिका मिलाउने तथा आगामी बैठकका लागि ‘वन–पेज ब्रिफ’ तयार गर्ने सुविधा पनि समावेश गरिएको छ ।

प्रविधि क्षेत्रका विश्लेषकहरूले माइक्रोसफ्ट ३६५ भित्र क्लाउड एआईको आगमनले कार्यालय सम्बन्धी कामकाज अझ स्वचालित र प्रभावकारी बन्ने बताएका छन् ।

 

रवि खोज्दै आए सहकारी पिडित : अर्बौँ रकम फिर्ता गराउन माग

काठमाडौं । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थामा डुबेको अर्बौँ रुपैयाँ फिर्ता गराउन माग गर्दै पीडितहरू संघीय राजधानी काठमाडौँ पुगेका छन्। देशभर फैलिएको सहकारी संकटबीच हजारौँ बचतकर्ताको भविष्य अन्योलमा परेपछि उनीहरू न्यायको खोजीमा सडकदेखि सिंहदरबारसम्म पुगेका हुन्।

पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसहितका नेताहरूलाई भेटेर पार्टीको चुनावी घोषणापत्रमा उल्लेख गरिएको ‘१०० दिनभित्र सहकारी बचत फिर्ता गर्ने’ बाचा स्मरण गराएका छन्।

उनीहरूले उक्त प्रतिबद्धता व्यवहारमा लागू गर्न तत्काल पहल गर्न आग्रह गर्दै संसद् सचिवालयमा ज्ञापनपत्र दर्ता गरेका छन्।

बराह सहकारी पीडित समन्वय समितिका प्रतिनिधिहरूका अनुसार सहकारीमा करिब ८ देखि १० हजार बचतकर्ताको अर्बौँ रुपैयाँ फसेको छ। उनीहरूले वर्षौंदेखि आफ्नो बचत फिर्ता नपाएको र बारम्बार सम्बन्धित निकायमा धाउँदा पनि ठोस समाधान नपाएको गुनासो गरेका छन्।

पीडितहरूको भनाइमा उनीहरूले आफ्नो भविष्य सुरक्षित गर्न, बालबच्चाको शिक्षा र परिवारको जीवनयापनका लागि जम्मा गरेको रकम नै गुमाउनुपरेको अवस्था आएको छ। काठमाडौँमा आएका प्रतिनिधिहरूले राज्यका जिम्मेवार निकायहरूले चासो नदेखाएको आरोप पनि लगाएका छन्।

धरान उपमहानगरपालिकाले उक्त सहकारीलाई पहिल्यै ‘सङ्कटग्रस्त’ घोषणा गरिसकेको छ। तर त्यसपछि पनि व्यवस्थापन समिति गठन, सम्पत्ति छानबिन तथा बचत फिर्ता प्रक्रियामा ठोस प्रगति हुन नसकेको पीडितको आरोप छ।

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच जिम्मेवारीको अस्पष्टताका कारण समस्या अझ जटिल बनेको उनीहरूको भनाइ छ। मन्त्रालयहरूले समेत यो विषय आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर रहेको भन्दै पन्छिने गरेको पीडितहरूले बताएका छन्।

सहकारीसँग सम्बन्धित मुद्दा हाल सुनसरी जिल्ला अदालत इनरुवामा विचाराधीन छ। अभियोगपत्रमा सहकारी तथा यससँग जोडिएका विभिन्न कम्पनीमार्फत अर्बौँ रुपैयाँ अपचलन भएको दाबी गरिएको छ।

सरकारी वकिल कार्यालयका अनुसार सहकारीका पदाधिकारी, सञ्चालक तथा अन्य संलग्न व्यक्तिहरूविरुद्ध सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दा दर्ता गरिएको छ। २ सयभन्दा बढी व्यक्तिमाथि कसुरको अभियोग लागेको छ।

अभियोगपत्रमा सहकारी संस्थाको मात्रै करिब १० अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना भएको उल्लेख छ। त्यस्तै विभिन्न व्यक्तिहरू र कम्पनीहरूको नाममा ठूलो मात्रामा रकम प्रवाह भएको पनि अनुसन्धान प्रतिवेदनमा देखाइएको छ।

पीडितहरूको आरोप अनुसार सहकारीका मुख्य सञ्चालकहरू हालसम्म फरार छन्। केहीलाई पक्राउ गरिए पनि धरौटीमा रिहा भइसकेको र पुनः अनुसन्धान प्रभावकारी रूपमा अघि नबढेको उनीहरूको गुनासो छ।

उनीहरूले फरार सबै सञ्चालकलाई तत्काल पक्राउ गरी सम्पूर्ण सम्पत्ति छानबिन गर्नुपर्ने माग राखेका छन्। साथै, बचतकर्ताको रकम फिर्ता गर्न विशेष सरकारी संयन्त्र गठन गर्नुपर्ने माग पनि गरेका छन्।

काठमाडौँ पुगेका पीडितहरूले आफ्ना माग पूरा नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्। उनीहरूले देशभरका सहकारी पीडितहरू एकजुट भएर ठूलो आन्दोलनको तयारी भइरहेको पनि बताएका छन्।

सहकारी संकट समाधानमा ढिलाइ भएमा लाखौँ परिवारको जीवन प्रभावित हुने भन्दै उनीहरूले सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन्।

प्रचण्डले भने – ‘कम्युनिस्टहरूबीच एकताको आवश्यकता बढेको छ’

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सच्चा कम्युनिस्टहरूबीच एकताको आवश्यकता बढेको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित २६औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन पनि विभिन्न बहस, विवाद, विभाजन र एकताको प्रक्रियाबाट अघि बढिरहेको बताए।

उनले भने, ‘अन्तर्राष्ट्रिय रूपमा पनि ठुलठुला बहस, विवाद, विभाजन र एकताको शृङ्खला चल्दै आएको छ। सच्चा कम्युनिस्टहरूको बीचमा एकता अहिले झन् विशेष रूपमा बढेको छ।’

प्रचण्डले देशमा साम्राज्यवादी हस्तक्षेप बढ्दै गएको दाबी गर्दै राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण बनेको उल्लेख गरे। उनका अनुसार पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिहरूलाई कमजोर पार्ने रणनीति अन्तर्गत विभिन्न गतिविधि भएको भए पनि त्यसका सबै पक्ष अझै सार्वजनिक नभइसकेको बताए।

उनले ‘के के भएका थिए पर्दाभित्र, अनुसन्धान हुँदै जाला’ भन्दै आगामी दिनमा ती विषयहरू उजागर हुने संकेत गरे। साथै उनले कम्युनिस्ट शक्तिहरूलाई कमजोर पार्ने प्रयास देशी तथा विदेशी रूपमा भइरहेको दाबी पनि गरे।

नोरा फतेही बनिन् विश्वकप उद्घाटन समारोहमा प्रस्तुति दिने पहिलो बलिउड अभिनेत्री

काठमाडौं। बलिवुड अभिनेत्री नोरा फतेही फिफा विश्वकप २०२६ को उद्घाटन समारोहमा प्रस्तुति दिने पहिलो बलिउड अभिनेत्री बन्ने भएकी छन्। उक्त समारोह जुन १२ मा क्यानडाको टोरन्टोस्थित बिएमओ मैदानमा आयोजना हुनेछ।

नोरा फतेही यसअघि पनि अन्तर्राष्ट्रिय खेलकुद महोत्सवसँग जोडिइसकेकी छन्। उनले फिफा विश्वकप २०२२ को समापन समारोहमा प्रस्तुति दिएकी थिइन्। साथै उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) पुरुष टी–२० विश्वकप २०२६ को उद्घाटन समारोहमा पनि प्रस्तुति दिएकी थिइन्। 

यससँगै उनी फुटबल र क्रिकेट दुवै विश्वकपका प्रमुख समारोहमा प्रस्तुति दिने पहिलो बलिउड कलाकार बन्ने भएकी छन्।

फिफा विश्वकप २०२६ अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ। प्रतियोगिता तीन देशमा हुने भएकाले फिफाले प्रत्येक आयोजक राष्ट्रमा अलग–अलग उद्घाटन समारोह गर्ने योजना बनाएको छ।

क्यानडामा हुने समारोहमा नोरा फतेहीसँगै बङ्गलादेशी मूलका अमेरिकी डिजे सञ्जयको पनि प्रस्तुति रहनेछ। सञ्जयले यसअघि बलिउड चलचित्र ‘रा.वन’ को चर्चित गीत ‘छम्मक छल्लो’ को आधिकारिक पुनःसंयोजन तयार गरेका थिए।

विश्वप्रसिद्ध कलाकारहरूको सहभागिता

क्यानडाको उद्घाटन कार्यक्रममा माइकल बुब्ले, एलानिस मोरिसेट, एलेसिया कारा, एलियाना, जेसी रेयेज, वेजिड्रिम र विलियम प्रिन्सलगायत कलाकारको पनि प्रस्तुति रहनेछ।

अमेरिकामा हुने उद्घाटन समारोहमा गायिका केटी पेरीको प्रस्तुति रहनेछ। यो कार्यक्रम जुन १२ मा लस एन्जलसस्थित सोफी रंगशालामा अमेरिका र पाराग्वेबीचको खेलसँगै हुनेछ। केटी पेरीसँगै लिसा, टायला, अनिता र रेमाले पनि प्रस्तुति दिनेछन्।

मेक्सिको सिटीमा जुन ११ मा हुने उद्घाटन समारोहमा टायला, अलेजान्द्रो फर्नान्डेज, ड्यानी ओसन, लिला डाउन्स, बेलिन्डा, जे बाल्भिन तथा लस एन्जेलिस अजुल्स र माना समूहको प्रस्तुति रहनेछ।

शकिराको नयाँ गीतको घोषणा

यसैबीच गायिका शकिराले फिफा विश्वकप २०२६ का लागि नयाँ गीत ‘दाई दाई’ सार्वजनिक गर्ने घोषणा गरेकी छन्। उक्त गीतमा नाइजेरियाली गायक बर्ना ब्वाय पनि सहभागी हुनेछन्। शकिराको सन् २०१० को विश्वकप गीत ‘वाका वाका’ विश्वव्यापी रूपमा अत्यन्तै लोकप्रिय बनेको थियो।

फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन्। पहिलो खेल मेक्सिको सिटीमा हुनेछ भने फाइनल खेल अमेरिकाको न्यु जर्सीमा आयोजना गरिनेछ।

निर्मला कुर्मी प्रकरणमा न्याय माग्दै : छैटौं पटक अनशनमा रूबी

काठमाडौं। बाँकेकी निर्मला कुर्मीको हत्या प्रकरणमा न्यायको माग गर्दै अधिकारकर्मी रुबी खान पछिल्लो १३ दिनदेखि जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा अनिश्चितकालीन अनशनमा बसेकी छन्। यो उनको छैटौं पटकको अनशन हो।

उनका अनुसार निर्मलाको हत्यामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न बारम्बार माग उठाइए पनि राज्य पक्षले गम्भीरता नदेखाएको आरोप छ। सहमति भए पनि कार्यान्वयन नहुँदा फेरि आन्दोलनमा उत्रिनुपरेको उनले बताएकी छन्।

निर्मला कुर्मी प्रकरणमा सरकारसँग पाँच पटकसम्म सहमति भएको भए पनि कुनै पनि सहमति कार्यान्वयन नभएको रुबीको भनाइ छ। २०८२ फागुन २१ को निर्वाचनपछि मुद्दा अदालत लैजाने भनिए पनि प्रक्रिया अघि नबढेपछि पुनः अनशन बस्नुपरेको उनले स्पष्ट पारेकी छन्।

९ बुँदे माग अघि सार्दै आन्दोलन

रुबीले कर्तव्य ज्यान मुद्दा, गुडिया प्रकरण र अन्य सम्बन्धित घटनामा तत्काल निष्पक्ष अनुसन्धान गरी अदालतमा लैजानुपर्ने माग राखेकी छन्। साथै, उपचार अभावमा मृत्यु भएका नाबालक दिपेश चमारको मुद्दामा थप अनुसन्धान गर्नुपर्ने माग पनि उनको सूचीमा छ।

उनले राज्यले पीडित पक्षलाई न्याय दिन ढिलाइ गरिरहेको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएकी छन्।

 के हो घटना ?

निर्मला कुर्मी नेपालगञ्ज उपमहानगरपालिका-१७ परस्परकी बासिन्दा थिइन्। उनको २०७७ सालमा रहस्यमय मृत्यु भएको थियो। त्यसअघि उनका श्रीमानको २०६२ सालमा निधन भएको थियो।

श्रीमानको मृत्युपछि करिब ४ बिघा १० कट्ठा जमिनमा विवाद सुरु भएको र भूमाफियाको चासो बढेको आरोप छ। पछि २०६६ सालमा उनका दुई छोराहरूको पनि रहस्यमय मृत्यु भएको बताइन्छ।

निर्मलाले सम्पत्ति हडप्ने प्रयास र दुर्व्यवहारको आरोपसहित उजुरी दिए पनि प्रभावकारी कारबाही नभएको दाबी अधिकारकर्मीहरूको छ।

२०७५ सालमा निर्मला बेपत्ता भएकी थिइन्। त्यसपछि दुई वर्षपछि उनको मृत्यु भएको खबर सार्वजनिक भयो। २०७७ सालमा अधिकारकर्मीहरूले बादशाह कुर्मीमाथि अपहरण र हत्याको आरोपसहित प्रहरीमा उजुरी दिएका थिए।

तर अनुसन्धान अघि नबढेको भन्दै आन्दोलन अझै जारी छ।

निर्मला कुर्मीको न्यायका लागि अधिकारकर्मीहरूले यसअघि काठमाडौंसम्म पैदल यात्रा गरेर अनशनसमेत गरेका थिए। तर न्याय नपाएपछि रुबी खान पुनः बाँकेमै अनिश्चितकालीन अनशनमा बसेकी छन्।

पशुपतिनाथमा भेटिएको ग्रिनेट : के हो सत्य तथ्य ?

काठमाडौं। पशुपतिनाथ मन्दिर क्षेत्र अन्तर्गत राम मन्दिरभन्दा माथिको जंगलमा भेटिएको ग्रिनेट बम नेपाली सेनाले निष्क्रिय पार्दै परीक्षणका लागि लगेको छ।

आइतबार बिहान करिब ८ बजे बम जस्तो वस्तु भेटिएको सूचना प्राप्त भएपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यसपछि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेर उक्त वस्तु सुरक्षित रूपमा उठाएको हो।

काठमाडौँ प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार घटनास्थलमा प्लास्टिकजस्तो देखिने ग्रिनेट बम जस्ता तीन वटा वस्तु भेटिएका थिए। ती वस्तु परीक्षणका लागि सेनाले लगेपछि अनुसन्धान अघि बढाइएको छ।

डीएसपी बुढाथोकीका अनुसार भेटिएको बम तत्काल राखिएको जस्तो नभई पुरानो अवस्थामा रहेको देखिन्छ। उनले उक्त वस्तुमा खिया लागेको र करिब ३-४ महिनाअघि जंगल क्षेत्रमा राखिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए।

उनका अनुसार वस्तु सक्रिय अवस्थामा नभएको जस्तो देखिए पनि विस्तृत परीक्षणपछि मात्रै वास्तविक अवस्था पुष्टि हुने छ।

सामाजिक सञ्जालमा उक्त बम सुकुम्वासी बस्ती नजिक भेटिएको भनेर फैलिएको सूचनालाई प्रहरीले खण्डन गरेको छ। डीएसपी बुढाथोकीका अनुसार बम सुकुम्वासी बस्तीभन्दा धेरै माथि जंगल क्षेत्रमा फेला परेको हो।

उनले भने अनुसार सुकुम्वासी बस्ती पार गरेपछि राम मन्दिर पर्छ र त्यसभन्दा करिब १०० मिटर माथि जंगलमा उक्त वस्तु भेटिएको हो। त्यसैले गलत सूचनामा आधारित हल्ला फैलिएको प्रहरीले जनाएको छ।

घटनापछि उक्त क्षेत्र वरपर सुरक्षाकर्मीको निगरानी बढाइएको छ। भेटिएका वस्तुहरूबारे विस्तृत अनुसन्धान भइरहेको र परीक्षण रिपोर्ट आएपछि मात्र स्पष्ट विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

१ लाख पुरस्कार राशीको आरआर स्ववियु प्रिमियर लिग हुँदै

काठमाडौं। विद्यार्थी एकता दिवसको अवसरमा ‘आरआर स्ववियु प्रिमियर लिग २०२६’ नामक अन्तरक्याम्पस  टि-२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी जेठ १ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ।

प्रतियोगिता त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुनेछ। 

‘त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने यो प्रतियोगिता अन्तरकलेज स्तरको प्रतिस्पर्धात्मक क्रिकेट इभेन्टका रूपमा प्रस्तुत गरिनेछ,’ स्ववियु आरआरका सभापति लोकेश खड्काले भने। 

आयोजकका अनुसार प्रतियोगितामा कलेजस्तरीय टिमहरूबीच टि-२० प्रारूपमा प्रतिस्पर्धा हुनेछ। खड्काले अगाडि भने ‘वन ग्याम, वन स्प्रिट, वन च्याम्पियन भन्ने नाराका साथ खेल सञ्चालन गरिनेछ।’

प्रतियोगिताको विजेताले रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु. ५० हजार प्राप्त गर्नेछ। त्यस्तै, ‘म्यान अफ द सिरिज’, ‘बेस्ट ब्याट्सम्यान’ र ‘बेस्ट बलर’ जस्ता विधागत पुरस्कारहरू पनि प्रदान गरिनेछ।

आयोजकले प्रतियोगिताको दर्ता शुल्क रु. १० हजार तोकेको छ। प्रतियोगितालाई क्याम्पसका  विद्यार्थीबीच खेलकुद भावना, प्रतिस्पर्धा र एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको जनाइएको छ।

चोरी भएका ६५ दुईपांग्रे सवारी धनीलाई फिर्ता, ट्राफिक प्रहरीलाई खाँदा लगाएर धन्यवाद (तस्वीरहरू)

काठमाडौं। उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ६५ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ। एक समारोहबीच ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका सवारी फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।

सवारी फिर्ता पाएपछि धनीहरूले खुशी व्यक्त गर्दै ट्राफिक प्रहरीप्रति आभार प्रकट गरेका छन्। केहीले खादा लगाएर प्रहरीलाई धन्यवाद दिएका थिए।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चोरी भएका सवारी साधन विभिन्न स्थानबाट बरामद गरी कानुनी प्रक्रिया पूरा गरेर धनीलाई बुझाइएको हो। यसले उपत्यकामा सवारी चोरी नियन्त्रणमा प्रहरीको सक्रियता देखिएको जनाइएको छ।

यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यातायात व्यवस्था विभागलाई ३१ वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि सिफारिस गरेको छ।

कार्यालयका अनुसार ती चालकहरू पटक-पटक ट्राफिक नियम उल्लङ्घनमा संलग्न रहेको पाइएपछि कारबाहीका लागि सिफारिस गरिएको हो। एमएसपी नवराज अधिकारीका अनुसार नियम उल्लङ्घनलाई नियन्त्रण गर्न कडाइका साथ निगरानी र कारबाही प्रक्रिया अघि बढाइएको छ।

निखिल उप्रेतीको ‘आचार्य’सँग  ‘१२ गाउँ २’ र  ‘छ माया छपक्कै-२’को भिडन्त हुने सम्भावना  

काठमाडौं। अभिनेता निखिल उप्रेती निर्देशित फिल्म ‘आचार्य’ अहिले पोस्ट प्रोडक्सन चरणमा रहेको छ। निर्माण टिमले फिल्मको डबिङलगायत अन्तिम काम तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ।

निर्माण पक्षका अनुसार फिल्ममा निखिल उप्रेती स्वयं मुख्य भूमिकामा देखिने छन् र दर्शकले यसमा उच्चस्तरको एक्सन अनुभव गर्न पाउने दाबी गरिएको छ। एक्सन किङको छवि बनाएका निखिलकै निर्देशन भएकाले फिल्मको एक्सन पक्ष विशेष आकर्षण हुने अपेक्षा गरिएको छ।

फिल्ममा भारतीय कलाकारहरूको समेत अभिनय रहेको कारण ‘आचार्य’ थप चर्चामा आएको छ। अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिले फिल्मको बजार विस्तार हुने निर्माण टिमको विश्वास छ।

निर्मात्री अभिनेत्री सञ्चिता लुइँटेल रहेको यो फिल्म सुरुमा जेठमा प्रदर्शन हुने चर्चा थियो। तर अहिले फिल्मलाई दशैँलाई लक्षित गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

यदि ‘आचार्य’ दशैँमा रिलिज भएमा बक्स अफिसमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। सोही समयमा विराज भट्टको ‘१२ गाउँ २’ र दीपकराज गिरीको ‘छ माया छपक्कै-२’ पनि प्रदर्शन हुने सम्भावना रहेकाले दर्शक र बजार दुवै बाँडिने अनुमान गरिएको छ।

दशैँलाई लक्षित गर्दै अन्य केही नेपाली फिल्महरूले पनि प्रदर्शन मिति तय गर्ने तयारी गरिरहेका छन्। एउटै सिजनमा धेरै फिल्म रिलिज हुँदा प्रतिस्पर्धा बढ्ने र केही फिल्मले अपेक्षित व्यापार नपाउने जोखिमसमेत देखिएको छ।

रास्वपा सांसद हुन थाले निष्क्रिय : प्रशिक्षणमा बालेनको खोजी, आशिकामाथि कारबाही

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा न्यून उपस्थिति देखिएपछि पार्टीभित्रै प्रश्न उठ्न थालेको छ।

शनिवारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा केही सांसदहरू अनुपस्थित रहने, अन्तिम समयमा मात्रै पुग्ने वा सकेसम्म सहभागिता कम गर्ने प्रवृत्ति देखिएको चर्चा छ। यसले पार्टी नेतृत्वले सञ्चालन गर्ने यस्ता कार्यक्रमप्रति सांसदहरूको रुचि घट्दै गएको जस्तो देखिने रास्वपाका एक नेताले बताए।

रास्वपाले सांसदहरूको व्यक्तित्व विकास, संसदीय क्षमता अभिवृद्धि तथा राजनीतिक संस्कार निर्माण गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिरहेको छ । कार्यक्रममा संसदीय समितिमा हुने छलफल, संसदमा प्रस्तुत हुने शैली, संसदीय मर्यादा, जिम्मेवारी, दायित्व तथा विषयगत बहसबारे प्रशिक्षण दिइने बताइएको छ।

पार्टीका अनुसार सांसदहरूलाई आत्ममूल्यांकन, सिकाइ, अनुभव आदान-प्रदान तथा भविष्यको राजनीतिक अभ्यासबारे अभिमुखीकरण गराउने लक्ष्य राखिएको छ।

शनिवारदेखि सुरु भएको प्रशिक्षण आइतवारसम्म चल्ने छ। समापन सत्रलाई पार्टी सभापति रवि लामिछाने सम्बोधन गर्नेछन्।

यद्यपि, पार्टी संसदीय दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह कार्यक्रममा सहभागी हुने वा नहुने विषय भने सार्वजनिक गरिएको छैन।

उक्त कार्यक्रमका सन्दर्भमा रास्वपा सांसद आशिका तामाङ ले प्रशिक्षण कार्यक्रम फाइभ स्टार होटलमा आयोजना गरिएको विषयमा सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरिन्। सामाजिक सञ्जालमार्फत उनले सिंहदरबारभित्र पर्याप्त सभाहल हुँदाहुँदै महँगा होटलमा कार्यक्रम गर्नु आवश्यक थियो वा थिएन भन्ने प्रश्न उठाएकी हुन् ।

उनले भनेकी छन्, ‘सांसदहरूलाई प्रशिक्षण कार्यक्रम वा अभिमुखीकरण गर्न फाइभ स्टार होटल नै रोज्नुपर्ने कुनै बाध्यता पक्कै होइन होला। सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति। बाहिर किन आखिर? बाहिर दिनको कति खर्च लाग्छ, त्यसको लेखाजोखा कसले गर्ने?’

आशिकाले आफूहरू परिवर्तनको राजनीति र फजुल खर्चविरुद्ध बोल्ने तर व्यवहारमा पुरानै शैली दोहोरिने हो भने नयाँ र पुरानाबीच फरक नदेखिने टिप्पणीसमेत गरेकी छन्।

उनको यो अभिव्यक्तिपछि पार्टीले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा आज साँझ ६ बजे बस्ने  बैठकमा आन्तरिक अनुशासन र अनुशासनात्मक कारबाहीसम्बन्धी प्रस्तावहरूमा समेत समीक्षा हुने जनाइएको छ।

यता, प्रशिक्षण कार्यक्रममा देखिएको न्यून उपस्थितिले भने रास्वपा संसदीय दलको आन्तरिक अनुशासन, प्रभावकारिता र सांसदहरूको सक्रियतामाथि प्रश्न उठ्न थालेका छन्।

सगरमाथा आरोहण गर्ने क्रममा एकजनाको निधन

 सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा लेक लागेर एक जना आरोहीको मृत्यु भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घिमिरे सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका बेला अचानक स्वास्थ्य अवस्था बिग्रिएर बिरामी परेका थिए ।

सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार आज बिहान करिब ४ बजे उनको अवस्था गम्भीर बनेपछि उनलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने प्रयास गरिएको थियो । तर बाटोमै उनको मृत्यु भएको हो ।

ट्रेक नेपालमार्फत आरोहणमा सहभागी घिमिरेको शव हेलिकोप्टरबाट लुक्ला हेलिप्याड ल्याइएको छ । पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि सगरमाथाको सफल आरोहण गरिसकेका घिमिरे पछिल्लो समय आरोही गाइडका रूपमा पनि कार्यरत रहेको बताइएको छ ।

६ दशक पुरानो सत्ता समीकरण अन्त्य : विजय बने तमिलनाडुको मुख्यमन्त्री

काठमाडौं। तमिलगा भेट्टी कझगम (टीभीके) का अध्यक्ष तथा लोकप्रिय अभिनेता विजय थलापतिले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएका छन्। योसँगै राज्यको राजनीतिक इतिहासमा करिब ६ दशकदेखि चल्दै आएको डीएमके र एआईएडीएमकेको पालैपालो सत्तामा आउने परम्परा औपचारिक रूपमा अन्त्य भएको छ।

तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले आइतबार बिहान चेन्नईस्थित नेहरू स्टेडियममा आयोजित विशेष समारोहमा विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। समारोहमा हजारौँ समर्थक, राजनीतिक प्रतिनिधि तथा विभिन्न दलका नेताहरूको उपस्थिति रहेको थियो।

बहुमत जुटाएर सरकार गठन

शनिबार २३४ सदस्यीय विधानसभामा १२० जना निर्वाचित विधायकको समर्थन प्राप्त भएपछि विजयलाई सरकार गठनको बाटो खुलेको हो। टीभीके नेतृत्वले कांग्रेस, सीपीआई, सीपीआई एम, भीसीके र आईयूएमएलसँग गठबन्धन गर्दै बहुमत सुनिश्चित गरेको बताइएको छ।

राजनीतिक समीकरण अन्तिम क्षणसम्म अनिश्चित रहेको भए पनि शनिबार साँझ भीसीके र आईयूएमएलले समर्थन जनाएपछि टीभीके नेतृत्वको गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेको थियो।

मन्त्रीपरिषद् गठन र क्षेत्रीय सन्तुलन

मुख्यमन्त्री विजयसँगै नौ जना मन्त्रीहरूले पनि शपथ लिएका छन्। उनीहरूमा बुसी एन आनन्द, आधव अर्जुना, केजी अरुणराज, केए सेङ्गोट्टैयन, पी. वेङ्कटरमणन, सीटीआर निर्मलकुमार, ए. राजमोहन, टी.के. प्रभु र एस. कीर्तना रहेका छन्।

मन्त्रिपरिषद् गठनमा क्षेत्रीय सन्तुलनलाई ध्यान दिइएको देखिन्छ। चेन्नई क्षेत्रबाट पाँच मन्त्री, पश्चिमी क्षेत्रबाट दुई र दक्षिणी क्षेत्रबाट तीन मन्त्रीलाई प्रतिनिधित्व दिइएको छ। साथै मन्त्रिपरिषद्‌मा एक महिला र अनुसूचित जाति समुदायबाट एक प्रतिनिधि समावेश गरिएको छ।

विश्वासको मतको चुनौती

राज्यपाल अर्लेकरले विजयलाई आगामी १३ मे भित्र वा त्यसअघि नै विधानसभाबाट विश्वासको मत लिन निर्देशन दिएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार गठबन्धनको स्थिरता परीक्षण गर्ने पहिलो चरण यही हुनेछ।

निर्वाचन परिणाम र राजनीतिक परिवर्तन

हालै सम्पन्न विधानसभा निर्वाचनमा टीभीकेले १०८ सिट जितेको थियो। तर विजय दुई निर्वाचन क्षेत्रबाट विजयी भएकाले एक सिट त्याग्नुपर्ने हुँदा पार्टीको वास्तविक संख्या १०७ रहनेछ।

त्यसपछि पनि अन्य दलहरूको समर्थन जुटाएर १२० सदस्यीय समर्थन संख्या पुर्‍याउन सफल भएपछि विजय सरकार गठन गर्न सफल भएका हुन्।

दीर्घ राजनीतिक प्रभुत्वको अन्त्य

तमिलनाडुको राजनीतिमा डीएमके र एआईएडीएमके दुई शक्तिशाली ध्रुवका रूपमा दशकौँदेखि हावी रहेका थिए। यी दुई दलबीचको सत्तासंघर्ष नै राज्यको राजनीतिक पहिचान मानिन्थ्यो।

तर विजय नेतृत्वको उदयसँगै पहिलो पटक ती परम्परागत शक्ति संरचनालाई चुनौती दिँदै नयाँ राजनीतिक केन्द्र स्थापित भएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार विजयको उदय केवल चुनावी विजय मात्र नभई तमिलनाडुको राजनीतिक संस्कृतिमा पुस्तान्तरण र नयाँ राजनीतिक शैलीको संकेत हो।

विजयको शपथ ग्रहणलाई उनका समर्थकहरूले ‘नयाँ युगको सुरुवात’ का रूपमा लिएका छन्। चलचित्र क्षेत्रबाट आएका लोकप्रिय व्यक्तित्वको रूपमा उनको जनसमर्थन पहिले नै उच्च रहेको थियो। जसले राजनीतिक यात्रालाई थप मजबुत बनाएको देखिन्छ।

श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ऋण ठगी गरेको आरोपमा श्रीमतीसहित दुई जना पक्राउ

कास्की। श्रीमानको हस्ताक्षर र औँठाछाप किर्ते गरी जग्गा धितो राखेर बैंकबाट ऋण लिई ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३० ढुङ्गेपाटन बस्ने ४४ वर्षीया वन्ती शाही र सुर्खेतको चौकुने गाउँपालिका–४ स्थायी घर भई हाल पोखरा–१० बुद्धचोक बस्ने ४४ वर्षीय भद्रबहादुर थापा मगर रहेका छन्।

ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको टोलीले उनीहरूलाई वैशाख २५ गते पक्राउ गरेको हो।

प्रहरीका अनुसार ढुङ्गेपाटन बस्ने ५२ वर्षीय मोहनबहादुर शाहीको नाममा दर्ता रहेको पोखरा–३० स्थित कित्ता नं २४४४ र २४४७ को जग्गा श्रीमती वन्ती शाही र भद्रबहादुर थापाले मिलेमतोमा धितो राखेका थिए। उनीहरूले जग्गाधनी मोहनबहादुरको नक्कली सहीछाप तयार गरी सिद्धार्थ बैंक लिमिटेड, तालचोक शाखाबाट ५० लाख रुपैयाँ ऋण लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

आफ्नो मञ्जुरी र जानकारी बिना जग्गा धितो राखेर ऋण निकालिएको थाहा पाएपछि पीडित मोहनबहादुर शाहीले प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरिएको छ। इलाका प्रहरी कार्यालय शिशुवाले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

खड्कासहित ११ जना पक्राउ

काठमाडौं। देशका विभिन्न ठाउँबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन्। चितवन, मकवानपुर, मोरङ, ताप्लेजुङ र बारामा गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

चितवन, भरतपुर महानगरपालिका-९ स्थित काँडाघारी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २०० ट्याब्लेटसहित ३ जनालाई बुधबार दिउँसो पक्राउ गरिएको हो। पक्राउ पर्नेमा २५ वर्षीय पुजन दराई, २६ वर्षीय प्रवेश गुरुङ र २९ वर्षीय सन्तोष गुरुङ रहेका छन्। प्रहरी चौकी गोन्द्राङबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

त्यस्तै मकवानपुर, हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६०० मिलिग्रामसहित २६ वर्षीय नैनुदिन अन्सारीलाई पक्राउ गरिएको छ। उनलाई अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङले पक्राउ गरेको हो।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-४ मिलन चोकबाट ट्रामाडोल ५८६ ट्याब्लेट र स्पास्पेन ६०० ट्याब्लेटसहित २ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा २७ वर्षीय बासुदेव खड्का र २५ वर्षीय दुर्गा बहादुर खड्का रहेका छन्। थप अनुसन्धानका क्रममा सोही स्थानका २२ वर्षीय निकेस माझी पनि पक्राउ परेका छन्।

यसैगरी ताप्लेजुङ, फुङलिङ नगरपालिका–२ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १६० मिलिग्रामसहित ३ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा २० वर्षीय ज्ञानेन्द्र लिम्बु, २० वर्षीय यमराज लिम्बु र २० वर्षीय जगत श्रेष्ठ रहेका छन्।

त्यस्तै बारा, निजगढ नगरपालिका–११ रतनपुरबाट ५ किलो ४१० ग्राम गाँजा जस्तो देखिने पदार्थसहित २० वर्षीय धर्मराज रामलाई पक्राउ गरिएको छ। उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सबै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमण किन रोकियो ?

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्रीको तय भएको नेपाल भ्रमण भारतकै तर्फबाट स्थगित गरिएको छ । भारतीय सञ्चारमाध्यम सीएनएन न्युज-१८ ले साउथ ब्लकलाई उद्धृत गर्दै कूटनीतिक कारण देखाएर भ्रमण तत्कालका लागि रोकिएको जनाएको छ । तर भ्रमण स्थगनको विस्तृत आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन ।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, ऊर्जा व्यापार, प्रसारण लाइन, रेल तथा पूर्वाधार विकास र क्षेत्रीय सहकार्यलगायत विषयमा उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको थियो । नयाँ मिति भने अहिलेसम्म तय भएको छैन ।

नेपाल–भारतबीच पछिल्लो समय ऊर्जा तथा कनेक्टिभिटी परियोजनामा संवाद तीव्र भइरहेका बेला भ्रमण स्थगित हुनुलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

यसबीच, प्रधानमन्त्री बालेन्द्र शाहले प्रोटोकलको कारण देखाउँदै विक्रम मिस्रीसँग भेट गर्न अस्वीकार गरेको चर्चा पनि सार्वजनिक भएको छ । उनी ‘समान स्तर’ को व्यक्तिसँग मात्र औपचारिक भेट गर्ने अडानमा रहेको बताइन्छ । यसअघि पनि अमेरिकी सहायक विदेशमन्त्री र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतसँग उनले औपचारिक भेट नगरेको उल्लेख छ ।

यसअघि परम्पराअनुसार भारतीय विदेश सचिवको नेपाल भ्रमणका क्रममा राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट हुने प्रचलन रहँदै आएको थियो ।

त्यस्तै, हालै लिपुलेक त्रिदेशीय क्षेत्रलाई लिएर देखिएको तनावले पनि भ्रमण स्थगनमा भूमिका खेलेको हुनसक्ने अनुमान गरिएको छ । नेपालले भारत र चीनले लिपुलेक हुँदै कैलाश–मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने निर्णयप्रति आपत्ति जनाएको थियो ।

भ्रमणको तयारी परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच मौरिससमा भएको भेटपछि अघि बढाइएको बताइएको थियो । भ्रमणका क्रममा मिस्रीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्ने कार्यक्रम समेत तय गरिएको थियो ।

विश्वकप २०२६को उद्घाटन तीन देशमा हुँदै

एजेन्सी। फिफा विश्वकप २०२६ को उद्घाटन समारोह तीनवटै आयोजक राष्ट्रमा हुने भएको छ। फिफाले शनिबार अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपको उद्घाटन कार्यक्रमको लाइनअप सार्वजनिक गरेको हो।

विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकपको अवसरमा यस पटक तीन फरक देशमा विशेष सेलेब्रेशन हुने भएको छ। कार्यक्रममा विश्व चर्चित कलाकारहरू क्याटी पेरीदेखि नोरा फतेहीसम्मले प्रस्तुति दिने जनाइएको छ। यस विश्वकपमा फुटबलसँगै संगीत र मनोरञ्जनलाई पनि विशेष रूपमा जोडिनेछ।

जुन १२ मा अमेरिकाको लस एन्जलसमा उद्घाटन समारोह हुनेछ। यहाँ क्याटी पेरी, फ्युचर, अनिता, लिसा, रेमा र टाइला लगायतले प्रस्तुति दिनेछन्। कार्यक्रम करिब ९० मिनेटको हुनेछ।

मेक्सिकोमा जुन ११ मा हुने उद्घाटन समारोहमा अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसियन, जे बाल्भिन, लिला डाउन्स, लस एन्जलस अजुल्स, मान, टाइला लगायत कलाकारहरूले प्रस्तुति दिनेछन्।

त्यसैगरी क्यानडामा जुन १२ मा हुने उद्घाटन समारोहमा अलानिस मोरिसेट, एलिसिया कारा, एलिएना, जेसी रेयेज, माइकल बबल, नोरा फतेही, सानजोए, भेगेड्रिम र विलियम प्रिन्सले प्रस्तुति दिनेछन्।

जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकपमा विश्वका उत्कृष्ट ४८ देशले प्रतिस्पर्धा गर्नेछन्।