`

युक्रेनको रणनीति : युद्धमा मानव सैनिकभन्दा रोबोट बढी हुने

एजेन्सी। युक्रेनको युद्धभूमिमा मानव सैनिकभन्दा लडाकु रोबोटहरूको सङ्ख्या धेरै हुन सक्ने एक यूके–युक्रेनी हतियार निर्माता कम्पनीले बीबीसीलाई जनाएको छ।

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले गत महिना पहिलो पटक रोबोट र ड्रोन मात्र प्रयोग गरेर रुसी सेनाबाट युक्रेनी भूभाग फिर्ता ल्याइएको बताएका थिए। त्यसपछि युद्धमा मानवरहित प्रणालीको भूमिका थप चर्चामा आएको हो।

दुवै पक्षले युद्धको सुरुदेखि नै मानवरहित हवाई तथा स्थलगत प्रणालीहरूको व्यापक प्रयोग गर्दै आएका छन्। विश्लेषकहरूका अनुसार यस युद्धले सैन्य प्रविधिको विकासलाई असाधारण रूपमा तीव्र बनाएको छ।

जेलेन्स्कीले हालैको एक भिडियोमा युक्रेनमा विकसित रोबोटिक हतियार प्रयोग गरेर ‘दुश्मनको स्थान मानवरहित प्रणाली स्थलगत रोबोट र ड्रोनबाट नियन्त्रणमा लिइएको’ बताएका थिए। युक्रेनी सेनाले भने उक्त कारबाहीको विस्तृत विवरण सार्वजनिक गरेको छैन।

यसअघि पनि युक्रेनले स्थलमा आधारित रोबोट प्रयोग गरेर रुसी सेनालाई लामो समय रोकिएको दाबी गरेको थियो। उक्त प्रविधिमा प्रयोग भएका केही हतियार यूके-युक्रेनी स्टार्टअप कम्पनी यूफोर्सले निर्माण गरेको बताइएको छ।

कम्पनीले हाल तीव्र विस्तार गर्दै ‘युनिकर्न’ कम्पनीको दर्जा प्राप्त गरेको छ जसको मूल्य १ अर्ब डलरभन्दा बढी पुगेको मानिन्छ। कम्पनीले युक्रेन युद्ध सुरु भएयता ठूलो संख्यामा सैन्य कारबाहीमा आफ्नो प्रविधि प्रयोग भएको दाबी गरेको छ।

विशेषज्ञहरूका अनुसार युद्धभूमिमा अब मानवभन्दा रोबोट धेरै हुने अवस्था नजिकिँदै जाँदा ‘रोबोटले रोबोटसँग लड्ने’ सम्भावना पनि बढ्दै गएको छ। रूसले पनि विस्फोटक पदार्थ बोकेका मानवरहित यन्त्रहरू प्रयोग गरिरहेको बताइएको छ।

अमेरिका, चीन र अन्य ठूला शक्ति राष्ट्रहरूले पनि सैन्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ता र स्वायत्त हतियार प्रणालीको प्रयोग तीव्र बनाइरहेका छन्। अमेरिकी रक्षा मन्त्रालयले समेत सेनालाई ‘एआई फर्स्ट युद्ध शक्ति’ बनाउनुपर्ने बताएको छ।

तर मानव अधिकारवादी संस्थाहरूले यस्तो प्रविधिले जबाफदेहिताको समस्या र नैतिक जोखिम बढाउने चेतावनी दिएका छन्। उनीहरूका अनुसार जीवन मरणसम्बन्धी निर्णय पूर्ण रूपमा मेसिनमा छोड्नु खतरनाक हुन सक्छ।

हतियार निर्माता कम्पनीहरूको तर्क भने फरक छ। उनीहरूका अनुसार मानव निर्णयलाई अन्तिम नियन्त्रणमा राख्दै एआईको प्रयोगले युद्धलाई अझ सटीक र सुरक्षित बनाउन सक्छ।

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला रु एक हजारको गिरावट आएको छ भने चाँदीको मूल्यमा प्रतितोला रु २५ को वृद्धि भएको छ।

नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९८ हजार ९०० मा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ९९ हजार ९०० कायम थियो।

सुनको मूल्य घटे पनि चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। गत शुक्रबार प्रतितोला रु पाँच हजार २७५ मा कारोबार भएको चाँदी आज रु पाँच हजार ३०० पुगेको छ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा मूल्यमा फेरबदल भएको हो। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार ७१५ अमेरिकी डलर र चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

‘बालेनको श्रीमतीलाई आमा भन’ (भिडियो)

काठमाडौँ । ‘को ले हो आमा भनेको ? तिमीहरूको आमा नै फेरिसक्यो । बालेनको श्रीमतीलाई आमा भन ।’ 

निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले बोलेको यो क्लिप अहिले सामाजिक सञ्जालमा चर्चामा छ।  

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट निस्कने क्रममा कार्कीले सञ्चारकर्मीलाई ‘बालेनकी श्रीमतीलाई आमा भन’ भनेको भिडियो क्लीप अहिले भाइरल भएको हो ।

शनिबार एक कार्यक्रमबाट निस्किने क्रममा सुशिला कार्कीलाई एचटीपी खबरका पत्रकारले ‘दर्शन आमा’ भनेर अभिवादन गर्दा उनले आक्रोशित हुदै उक्त प्रतिक्रिया दिएकी थिइन् । 

संवैधानिक परिषद् को बैठकले प्रधानन्यायाधीशमा मनोज शर्मालाई सिफारिस गरेपछि कार्की यतिबेला आक्रोशित छिन्। यही प्रकरणले कार्कीको प्रधानमन्त्री बालेन शाहसँगको सम्बन्ध ब्रिग्रिएको चर्चा पनि चलिरहेको छ । केही चर्चा र स्रोतअनुसार उनी आगामी राष्ट्रपति बन्न चाहन्थिन्।  तर प्रधानन्यायाधिश सिफारिस प्रकरणले उनको त्यो चाहनामा तुषारापातमा परिणत भएको विश्लेषण भइरहेका छन्। उनले यसअघि पनि एक अन्तर्वार्ताका क्रममा वर्तमान सरकारले केपी ओलीले गरेका निर्णय उल्ट्याउने र उनका विरुद्दमा काम गरिरहेको आरोप पनि लगाएकी थिइन्। 

त्यो सँगै बालेनले सरकार बनाएपछि गरेका निर्णयका कारण कार्की असन्तुष्ट रहेको देखिन्छ । प्रधानमन्त्री हुँदा उनले नियुक्ति दिएका आफ्ना तत्कालिन स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई समेत बालेनले ल्याएको अध्यादेशका कारण पद गुमाउनुपरेको थियो ।

बालेनले सुशिला कार्कीलाई आमा भनेर सम्बोधन गर्ने गरेका थिए । यहाँसम्मकी उनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्नी आमा र श्रीमतीसहित कार्कीको समेत तस्वीर राखेर शुभकामना दिएका थिए । 

रसुवामा पहिलो भिडियो एक्स–रे प्रविधिबाट पशु परीक्षण

रसुवा । रसुवाको उत्तरगया गाउँपालिकाको आयोजनामा तथा हेफर प्रोजेक्ट नेपाल को प्राविधिक सहयोगमा जिल्लामै पहिलो पटक भिडियो एक्स–रे प्रविधिको प्रयोग गरी पशुहरूको स्वास्थ्य परीक्षण गरिएको छ। 

यस प्रविधिबाट पशुहरूमा बाँझोपन भए वा नभएको, पाठेघरको सङ्क्रमण तथा डिम्बाशयमा पानीका फोका भए वा नभएको पहिचान गरी उपचार गरिएको हो। साथै भिडियो एक्स–रेको माध्यमबाट पशुहरूको गर्भ परीक्षण समेत गरिएको छ।

पछिल्ला वर्षहरूमा पशुपालक किसानहरूको सङ्ख्या घट्दै गएको सन्दर्भमा उत्तरगया गाउँपालिका पशु सेवा शाखाले पहिलो पटक अत्याधुनिक प्रविधिसहित पशु विशेषज्ञ टोली परिचालन गरेको हो। विशेष गरी उत्तरगया गाउँपालिका वडा नं. ४ र ५ का दुग्ध उत्पादक किसानहरूलाई लक्षित गर्दै विशेषज्ञ टोली गाउँ–गाउँ पुगेको थियो।

यसअघि आँखाले हेरेर तथा सामान्य लक्षणका आधारमा मात्र रोग पहिचान गरिँदै आएको थियो। तर अहिले अत्याधुनिक उपकरणमार्फत परीक्षण हुन थालेपछि किसानहरूमा नयाँ आशा पलाएको छ। विज्ञ टोलीले कर्मीडाँडा, लहरेपौवा, बेत्रावती तथा बनुवा गाउँमा पुगेर सेवा प्रदान गरेको हो।

उक्त शिविरमा गाउँपालिकामा कार्यरत पशु सेवा प्राविधिकहरूलाई भिडियो एक्स–रेको माध्यमबाट गर्भ परीक्षण, बाँझोपन पहिचान तथा उपचार विधिबारे अभिमुखीकरण समेत गरिएको थियो। शिविरमा पशुहरूले किला काटी खाए वा नखाएको तथा पशुले राँगो वा साँढे खोजे वा नखोजेको अवस्थासमेत आधुनिक मेसिनको प्रयोगबाट पहिचान गरिएको थियो।

शिविरमा वडा नं. ५ का वडा अध्यक्षले यस्ता प्रविधिको प्रयोग अत्यन्त उपयोगी रहेको बताएका छन्। उक्त शिविरमा ३५ भन्दा बढी पशुहरूको परीक्षण गरिएको थियो। मान्छेमा जस्तै पशुमा पनि भिडियो एक्स–रे प्रविधिबाट परीक्षण गरिएको पहिलो पटक प्रत्यक्ष देख्दा आफ्नै गोठमै भएको काम अचम्म र अनौठो लागेको किसान शिवराज आचार्यले बताए।

यस्तो प्रविधिको प्रयोग आगामी दिनमा गाउँपालिकाको हरेक वडा र टोल–टोलमा पुर्‍याउन वडा नं. ५ का अध्यक्ष यमनाथ आचार्यले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

इन्फिनिटी फाउन्डेसन नेपालद्वारा उदयपुरका जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

काठमाडौँ ।हालै सञ्चालन गरिएको छात्रवृत्ति अभियान अन्तर्गत इन्फिनिटी फाउन्डेसन नेपालले उदयपुर जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरूमा अध्ययनरत जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ। चौदण्डीगढी नगरपालिकास्थित श्री माध्यमिक विद्यालय, आमसालका २ जना तथा श्री सगरमाथा विद्यालयका ३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको संस्थाले जनाएको छ।

त्यसैगरी, बेलका नगरपालिकाअन्तर्गत श्री जनता माध्यमिक विद्यालय, लामीडाँडाका २ जना तथा श्री जनता माध्यमिक विद्यालय, पुमारेथुम्काका २ जना गरी कुल ४ जना विद्यार्थीलाई पनि पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ। वैशाख २३, २४ र २५ गते सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सामग्री, विद्यालय पोसाक तथा आवश्यक सहयोग हस्तान्तरण गरिएको थियो।

इन्फिनिटी फाउन्डेसन नेपालले शिक्षा क्षेत्रसँगै स्वास्थ्य क्षेत्रमा समेत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका बिरामीहरूलाई आवश्यक चिकित्सकीय परामर्श उपलब्ध गराउनुका साथै उपचारमा आर्थिक सहयोग गर्दै आएको संस्थाले जानकारी दिएको छ।

त्यसैगरी, जनचेतनामूलक कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउन संस्थाले विभिन्न क्षेत्रमा वृक्षरोपण, सरसफाइ अभियान तथा पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधिहरू सञ्चालन गर्दै आएको छ। वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै समुदायस्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गरिएको फाउन्डेसनले जनाएको छ।

शिक्षामा आर्थिक पहुँच विस्तार गर्ने उद्देश्यसहित इन्फिनिटी फाउन्डेसन नेपालले काठमाडौं उपत्यकामा आर्थिक रूपमा कमजोर तथा पछाडि परेका कक्षा ८, १० र १२ का विद्यार्थीहरूलाई मासिक रु १०० शुल्कमा अध्ययन गराउने विशेष अभियानसमेत सञ्चालन गरिरहेको छ। साथै, प्रत्येक आइतबार २ घण्टा सरसफाइ कार्यक्रममा स्वयंसेवकका रूपमा सहभागी हुने अभ्यासमार्फत विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र सेवाभाव विकास गर्ने प्रयास गरिएको छ।

यसका अतिरिक्त, विद्यार्थी तथा युवाहरूलाई सीपमूलक तथा प्रतिस्पर्धात्मक शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले आयल्स, लोकसेवा, कोरियन तथा जापानी भाषा कक्षासमेत मासिक रु १०० शुल्कमै सञ्चालन गरिरहेको संस्थाले जनाएको छ। युवा पुस्तालाई सस्तो, सहज र गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आत्मनिर्भर बनाउने लक्ष्यसहित फाउन्डेसनले आफ्ना कार्यक्रमहरूलाई निरन्तर विस्तार गर्दै लगेको बताइएको छ।

३९ वर्षीया फर्नान्डेज बनिन् कोस्टारिकाकी राष्ट्रपति

एजेन्सी। लाउरा फर्नान्डेज ले कोस्टारिकाकी नयाँ राष्ट्रपतिका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। राजधानी सान होसे स्थित राष्ट्रिय रङ्गशालामा आयोजित विशेष समारोहबीच उनले आगामी चार वर्षका लागि राष्ट्रपतिको कार्यभार सम्हालेकी हुन्।

३९ वर्षीया फर्नान्डेजलाई निवर्तमान राष्ट्रपति रोड्रिगो चाभेस ले राष्ट्रपतीय ओहोदाको प्रतीक ‘पटुका’ हस्तान्तरण गरेका थिए। समारोहमा विभिन्न देशका विशिष्ट अतिथिसहित करिब २० हजार सर्वसाधारणको उपस्थिति रहेको थियो।

सार्वभौम जनपार्टी का तर्फबाट उम्मेदवार बनेकी फर्नान्डेजले गत फागुन १ गते सम्पन्न निर्वाचनमा विजय हासिल गरेकी थिइन्। यसअघि उनले राष्ट्रिय योजना तथा आर्थिक नीति मन्त्री र त्यसपछि राष्ट्रपतीय मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।

राष्ट्रपतिका रूपमा आफ्नो पहिलो सम्बोधनमा फर्नान्डेजले अपराध नियन्त्रणलाई सरकारको प्रमुख प्राथमिकता बनाउने बताइन्। उनले राज्यका निकायमा लागुऔषध तस्करीको प्रभाव रोक्न कडा कदम चाल्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

सोही अवसरमा उनले मुलुकमा ठूलो केन्द्रीय कारागार निर्माण गर्ने तथा विश्वकै अत्याधुनिकमध्ये एक प्रहरी निगरानी केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरिन्।

हराउँदै गएको जङ्गली वंश कोशीटप्पुका अरनामा बढ्दो आनुवंशिक सङ्कट(तस्वीरहरु)

काठमाडौं। कोशी टापु वन्यजन्तु आरक्षण नेपालको तराई क्षेत्रमा फैलिएको एउटा महत्वपूर्ण सिमसार तथा घाँसे मैदान हो। सप्तकोशी नदीले बनाएको यो मैदान जङ्गली हात्ती, नीलगाई, चराचुरुङ्गी र विशेष गरी दुर्लभ जङ्गली अर्नाको मुख्य आश्रयस्थलका रूपमा परिचित छ। जङ्गली अर्नाको मौलिक जीन हराउने खतरा याे क्षेत्रमा अहिले एउटा मौन संकटकाे रुपमा बढिरहेको छ ।

वैज्ञानिक अध्ययनहरूका अनुसार कोशीटप्पु क्षेत्रमा खुल्ला चाैपाया भैँसीको समस्या नयाँ होइन। सन् १९५० को दशकतिर केही घरपालुवा भैँसीहरू छुटेका वा खुला रूपमा छाडिएका कारण फेरल (खुल्ला चाैपाया) काे जनसंख्या विकसित भएको उल्लेख विभिन्न अनुसन्धानमा पाइन्छ। पछि ती भैँसीहरू जङ्गली बथानसँग मिसिँदै गए। अहिले कोशीटप्पु वन्यजन्तु आरक्षभित्र र वरपर हजारौंको संख्यामा घरपालुवा तथा फेरल गाईवस्तु चरिरहेका भेटिन्छन्। यही अवस्थाले जङ्गली अरनाको आनुवंशिक शुद्धतामाथि ठूलो चुनौती खडा गरेको छ।

खुला चरन र नियन्त्रणविहीन पशु प्रवेशका कारण जङ्गली अरना र घरपालुवा भैँसीबीच क्रस–ब्रिडिङ बढिरहेको छ। यसले “जेनेटिक इरोजन” अर्थात् मौलिक जीनको क्रमिक क्षय निम्त्याइरहेको छ। जङ्गली अरनाको विशिष्ट शारीरिक र आनुवंशिक विशेषता विस्तारै हराउँदै जाने जोखिम अहिले संरक्षणको मुख्य चिन्ता बनेको छ।

कोशीटप्पुका मैदानमा देखिने कतिपय भैँसीहरूमा मिश्रित विशेषता स्पष्ट देख्न सकिन्छ। शुद्ध जङ्गली अर्नाको शरीर सामान्यतया ठूलो, कालो र शक्तिशाली हुन्छ। तिनका सिङ बाक्ला र अर्धचन्द्राकार बाहिरतिर फैलिएका हुन्छन्। तर क्रस–ब्रिड भैँसीमा शरीरको अनुपात, सिङको आकार, अनुहारको बनावट र रङमा फरकपन देखिन्छ। यही परिवर्तनले जङ्गली वंश क्रमशः कमजोर बन्दै गएको संकेत दिन्छ।

समस्या केवल आनुवंशिक मात्र छैन। घरपालुवा पशुहरूसँगको निकट सम्पर्कले रोग सर्ने जोखिम पनि बढाएको छ। घरेलु गाईवस्तुबाट विभिन्न सङ्क्रामक रोग जङ्गली अर्नामा फैलिन सक्ने खतरा रहन्छ। यदि रोग फैलियो भने सानो जनसंख्यामा रहेका जङ्गली अरनालाई ठूलो क्षति पुग्न सक्छ।

कोशीटप्पुका घाँसे मैदानमा शान्त देखिने दृश्यभित्र वास्तवमा संरक्षणको गम्भीर संघर्ष लुकेको छ। यदि खुला चरन नियन्त्रण, फेरल पशु व्यवस्थापन र वैज्ञानिक निगरानी प्रभावकारी रूपमा लागू भएन भने भविष्यमा शुद्ध जङ्गली अर्ना केवल इतिहासका पानामा सीमित हुन सक्छन्।

 

 

समाज सेवा र शिक्षा रूपान्तरणको महाअभियानमा ‘इन्फिनिटी फाउन्डेसन’

काठमाडौं । दक्षिण कोरियामा कार्यरत २० वर्षीय युवा संस्थापक प्रतिक राई र कुसल खड्काको नेतृत्वमा रहेको इन्फिनिटी फाउन्डेसन नेपालले देशभरका सरकारी विद्यालयहरूमा शैक्षिक, सामाजिक तथा प्रेरणामूलक कार्यक्रम सञ्चालन गर्दै उल्लेखनीय काम गरिरहेको छ। 

सानो उमेरमै समाजसेवा र नेपालको शिक्षा प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित अघि बढेको यस संस्थाले विशेषगरी आर्थिक अभावका कारण पछाडि परेका जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्दै आएको हो।

फाउन्डेसनले विद्यार्थीहरूको बौद्धिक तथा व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै हाजिरीजवाफ, वक्तृत्वकला, नेतृत्व विकास र प्रेरणामूलक गतिविधिहरू आयोजना गर्दै आएको छ। यस्ता कार्यक्रमहरूले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र सकारात्मक सोच विकास गर्न सहयोग पुगेको संस्थाले जनाएको छ।

यसैबीच, ‘पूर्ण छात्रवृत्ति कार्यक्रम’ फाउन्डेसनको प्रमुख र प्रभावकारी अभियानका रूपमा विस्तार भइरहेको छ। उक्त कार्यक्रमअन्तर्गत उत्कृष्ट नतिजा हासिल गर्ने, अनुशासित तथा प्रतिभाशाली विद्यार्थीहरूलाई छनोट गरी एक वर्षे पूर्ण छात्रवृत्ति प्रदान गरिन्छ।

छात्रवृत्तिमा ट्युसन तथा परीक्षा शुल्क मात्र होइन, विद्यालय पोसाक, झोला, जुत्ता-मोजा, कापी, कलम, क्याल्कुलेटर, जियोमेट्री बक्सलगायत सम्पूर्ण शैक्षिक सामग्री उपलब्ध गराइन्छ। साथै, विद्यार्थीहरूको समग्र विकासका लागि शैक्षिक भ्रमणको खर्चसमेत फाउन्डेसनले बेहोर्दै आएको छ। आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुनसक्ने विद्यार्थीहरूलाई निरन्तर शिक्षासँग जोडिराख्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम धेरै अभिभावक र विद्यालयका लागि आशाको माध्यम बनेको छ।

विदेशमा रहेर पनि मातृभूमिको शिक्षा सुधारमा योगदान दिँदै आएका युवा संस्थापकद्वय राई र खड्काको यो अभियान अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बन्दै गएको छ। सरकारी विद्यालयको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीलाई अवसर, प्रेरणा र गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यसहित फाउन्डेसनले आफ्नो अभियानलाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। 

रास्वपा सचिवालय बैठक बस्दै

 काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी केन्द्रीय सचिवालयको बैठक आह्वान गरेका छन्।

वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा आज साँझ ६ बजे बस्ने बैठकमा आगामी भेला तथा केन्द्रीय अधिवेशनको विस्तृत कार्यतालिकाबारे छलफल हुने जनाइएको छ।

त्यसैगरी पार्टीका विभिन्न आयोग र विभागमा रिक्त रहेका पदहरूमा पदाधिकारी मनोनयन गर्ने विषय पनि बैठकको प्रमुख एजेन्डामा समावेश गरिएको छ। संगठनात्मक संरचनालाई सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले जिल्ला समितिहरूको पुनर्संरचना तथा व्यवस्थापनसम्बन्धी विषयमा पनि छलफल गरी निर्णय गरिने बताइएको छ।

बैठकमा आन्तरिक अनुशासन र अनुशासनात्मक कारबाहीसम्बन्धी प्रस्तावहरूमा समेत समीक्षा हुने जनाइएको छ। साथै आगामी केन्द्रीय समिति बैठकको तयारी, कार्यतालिका निर्धारणसहित समसामयिक संगठनात्मक विषयहरूमा पनि सचिवालयले छलफल गर्नेछ।

न्यायपालिका तरंगित : डा. शर्मा विवादको केन्द्रमा

काठमाडौं। प्रधानन्यायाधीश सिफारिसको पछिल्लो निर्णयले नेपालको न्यायिक वृत्तमा गहिरो बहस जन्माएको छ। संवैधानिक परिषद्ले सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई ३३औँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेपछि वर्षौंदेखि कायम वरिष्ठतामुखी परम्परा भङ्ग भएको भन्दै न्यायिक क्षेत्र तरंगित बनेको छ।

नेपालमा परम्परागत रूपमा वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने प्रक्रिया बलियो चलन थियो। तर यसपटक परिषद्ले बहुमतका आधारमा ‘वैकल्पिक’ पात्र अघि सारेपछि न्यायिक समुदायभित्र व्यापक प्रतिक्रिया उत्पन्न भएको छ।

कानुनविद्हरूको एक समूहले परिषद्को निर्णयलाई ‘पुरानो सेटिङ अन्त्य गर्ने कदम’ का रूपमा व्याख्या गरेका छन्। संविधानको धारा १२९ (३) ले सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका न्यायाधीशहरू प्रधानन्यायाधीश बन्न योग्य मान्ने भएकाले योग्य उम्मेदवारहरूको सूचीबाट कसैलाई छान्नु संविधानसम्मत हुने उनीहरूको तर्क छ।

उनीहरू भन्छन्, ‘जहाँ संविधानले ६ जना न्यायाधीशलाई बराबरी योग्य ठान्छ, त्यहाँ परिषद्ले तीमध्ये एकजनालाई चयन गर्नु असंवैधानिक हुँदैन।’

यद्यपि कानुनी समुदायका अर्को ठूलो समूहले वरिष्ठताको अभ्यास तोडिनु न्यायिक संस्थाको स्थायित्व र विश्वसनीयतामाथि दीर्घकालीन असर पर्न सक्ने चेतावनी दिएका छन्। ‘यो कदमले न्यायपालिकाभित्र अस्वस्थ प्रतिस्पर्धा, कार्यकारीको प्रभाव र राजनीतिकरण बढ्न सक्छ,’ वरिष्ठ कानुनविद्हरूको तर्क छ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बेले ‘नोट अफ डिसेन्ट’ राखी परिषद्को निर्णयप्रति असहमति जनाउनु पनि विवाद बढेको अर्को कारण बनेको छ।

पूर्वन्यायाधीशहरूको संगठनले जारी गरेको विज्ञप्तिमा वरिष्ठता मिचेर गरिएको सिफारिसले ‘न्याय पाउनको प्रतिस्पर्धा होइन, न्यायाधीश बन्ने दौड’ बढाउने चेतावनी दिइएको छ। उनीहरूका अनुसार मुद्दा छिन्ने संख्यालाई पदोन्नतिको आधार बनाउन खोजिँदा न्यायिक गुणस्तरमै ह्रास आउने सम्भावना रहन्छ।

यता सर्वोच्च अदालत प्रशासनले सिफारिसविरुद्ध दायर तीनवटा रिट दर्ता गर्न अस्वीकार गरिदिएपछि कानुनी बहस अझै चर्किएको छ। अधिवक्ता गीता थापा, डा. प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ‘वरिष्ठ न्यायाधीश पन्छाएर चौथो वरीयताका न्यायाधीश सिफारिस भएको’ बताउँदै प्रक्रिया बदर गर्न माग गरेका थिए। तर रिट दर्ता नै अस्वीकार भएपछि न्यायालयको निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठेको कानून व्यवसायीहरूको टिप्पणी छ।

न्यायपरिषद्ले पठाएको नामावलीमा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित छै जना न्यायाधीश परेका थिए। त्यसै सूचीबाट परिषद्ले डा. शर्मालाई अघि सारेपछि अब उनी संसदीय सुनुवाइमा जानेछन्। सुनुवाइ समितिले १० दिनभित्र ‘उहाँ नियुक्तिका लागि उपयुक्त छैनन्’ भन्ने आधार, प्रमाण वा उजुरीहरू मागेको छ। उजुरी परेमा समितिले डा. शर्माका पेशागत योग्यता, आचरण, सम्पत्ति, विवादास्पद निर्णयहरूलगायत विषयमा विस्तृत छानबिन गर्ने जनाएको छ।

बोर्डले सार्वजनिक गर्‍यो नतिजा हेर्ने माध्यम,कसरी हेर्न सकिन्छ ?

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

नतिजा प्रकाशनको तयारीसँगै बोर्डले विद्यार्थीहरूले नतिजा प्राप्त गर्न सक्ने विभिन्न माध्यमहरूको सूची पनि सार्वजनिक गरेको छ।

परीक्षा बोर्डले सूचना जारी गर्दै नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर सेवा तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने जानकारी दिएको हो।

बोर्डका अनुसार विद्यार्थीहरूले आफ्नो सिम्बोल नम्बर प्रयोग गरेर मोबाइल एसएमएस सेवा, फोन कलमार्फत आईभीआर प्रणाली तथा अनलाइन वेबसाइटबाट सहज रूपमा नतिजा हेर्न सक्नेछन्।

हरेक वर्ष एसइईको नतिजा सार्वजनिक भएपछि वेबसाइटमा अत्यधिक चाप पर्ने भएकाले बोर्डले एकभन्दा बढी माध्यम प्रयोग गर्न आग्रह गर्दै आएको छ।

यस वर्ष पनि लाखौं विद्यार्थी परीक्षामा सहभागी भएकाले नतिजा प्रकाशनपछि अनलाइन प्रणालीमा उच्च ट्राफिक हुने अनुमान गरिएको छ। त्यसैले बोर्डले वैकल्पिक माध्यमको प्रयोग गर्न सुझाव दिएको छ।

99-1778388595.jpg

सरकारी कोषबाट सहकारी पिडितलाई बचत फिर्ता गर्दै सरकार

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यही वैशाख ९ गतेदेखि कार्यादेशअनुसार तीब्र रुपमा कार्य थालेकाे छ। समस्याग्रस्त घोषित सहकारीहरूबाट करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ बचत फिर्ता हुन बाँकी छ। समितिले प्रेस विज्ञप्ति जारी गर्दै ऋण असुली, बचत मिलान, आन्तरिक संरचना पुनःसंरचना, सरोकारवालासँग छलफल तथा कार्ययोजना निर्माणका कामहरू निरन्तर अघि बढाउने जनाएको छ।
समितिका अनुसार मागदाबी गरेका बचतकर्ताहरूको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो साताबाट सुरु गरिने छ । मागदाबी गर्न छुटेका बचतकर्ताहरूका लागि पुनः आवेदन दिने अवसर आगामी साउनको पहिलो सातामा खुला गरिने छ। समितिले आगामी योजना पनि सार्वजनिक गरेको छ।
बचत मिलान प्रक्रियालाई वैज्ञानिक र न्यायपूर्ण बनाउने उद्देश्यले नयाँ कार्यविधि निर्माण गरिने समितिले जनाएकाे छ । समितिले कर्जा असुलीलाई प्राथमिकतामा राख्दै कानुनअनुसार कडाइका साथ अघि बढ्ने स्पष्ट पारेको छ। किस्ताबन्दीमा कर्जा तिर्न लिखित प्रतिबद्धता जनाउने ऋणीलाई भने निश्चित समयसीमा उपलब्ध गराउने भनिएकाे छ।
यस्तै, शुक्रबार समितिले दोस्रो चरणमा समस्याग्रस्त सहकारी संस्थाका १०९ जना ठूला ऋणिहरूको नाम सार्वजनिक गरेको छ । यसअघि समितिले २३ वैशाख २०८३ मा पहिलो चरणअन्तर्गत १० वटा समस्याग्रस्त सहकारीका ८७ जना ठूला ऋणीहरूको विवरण सार्वजनिक गरेको थियो । तर, जीबी राई तथा रवि लामिछानेसँग जोडिएका चर्चित सहकारी संस्थाका ठूला ऋणीहरूको नाम भने अझै सार्वजनिक गरिएको छैन । किन ?

यिनै विषयमा समितिका शाखा अधिकृत ज्ञानहरि पौडेलसँग गरिएको संवादको सम्पादित अंश :

अहिले जम्मा सहकारी संस्थाको संख्या कति छ ?

समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालय बुद्धनगर मातहत अथवा कार्यक्षेत्रमा २३ वटा सहकारीहरू समस्याग्रस्तमा परेका छन्। सरकारले घोषणा गरेका तीनवटा सहकारीहरूको हिसाबकिताब भइसकेको छ। अब बाँकी रह्यो- २३ वटा मध्ये २० वटा सहकारी संस्थाहरू । ती सबै समस्याग्रस्त सहकारी संस्थाकै लाइनमा छन्। पीडितहरू लगभग ७६ हजारको हाराहारीमा छन्। ती पीडित बचतकर्ताहरू कोही साना र कोही ठूला बचतकर्ताहरू छन्। त्यसमध्ये हामीले अहिले सुरुवाती चरणमा साना बचतकर्ताहरूलाई घाउमा मल्हमपट्टी होस् भन्ने हिसाबले बचत फिर्ता गर्ने योजना अघि सारेका छाैँ । 

बचत फिर्ता चरणबद्ध हुन्छ ?

हजुर, चरणबद्ध हुन्छ। अहिले पहिलो चरणमा साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखेका छौँ। त्यसमध्ये एक लाखभन्दा मुनिका कति छन्, पाँच लाखभित्रका कति छन् भन्ने तथ्याङ्‍क संकलन गर्ने काम हामीले गरिरहेका छौँ र जेठको पहिलो साताबाट ती बचतकर्ताहरूलाई सरकारले चक्रिय सहकारी कोषबाट २५ करोड रुपैयाँ विनियोजन गरेको छ। त्यही पैसाले कति जनालाई कति पुग्छ, सोहीअनुसार हामी दिन मिलेसम्म र पुगेसम्म बाँड्नेछौँ।

सहकारीको बचत हिनामिना गरेका व्यक्तिबाट रकम असुल्न सरकारले कुनै ठोस कदम चालेको छ ?

सहकारी संस्थाबाट ऋण खाने ऋणीहरूलाई चाहे ठूला ऋणि हुन् चाहे साना ऋणि सबैको लागि मापदण्ड एउटै छ। १० ठूला ऋणिहरूको नाम प्रकाशन भइसकेको अवस्था छ। केही नाम प्रकाशन भएपछि सम्पर्कमा आएका छन्। सम्पर्कमा आएका व्यक्तिबाट हामीले असुलउपर गरिरहेका छौँ। सरकारले ठूला ऋणिलाई नियन्त्रणमा राखेर साना ऋणिलाई पनि सचेत गराउने नीति लिएको छ।

चक्रिय सहकारी कोषको स्रोत के हो ?

यो सरकारी कोष हो। यसको स्रोत सरकारले विनियोजन गरेको रकम हो। सरकारले २५ / ३० करोड जति बजेट विनियोजन गरेको छ। त्यसैबाट वितरण गर्ने योजनामा छौँ।

पुग्ला त सरकारले छुट्याएको रकमले ?

मैले भनिहालेँ, सबैलाई पुग्ने अवस्था छैन। तर जे जति पुग्छ, दामासाहीको हिसाबले सुरुमा १० हजार हुन्छ वा २५ हजारसम्म पुग्छ। त्यो हिसाबकिताब हामी गरिरहेका छौँ।

बचत फिर्ता किस्ताबन्दीमा हुन्छ ?

जस्ताे कि रामबहादुर भन्ने व्यक्तिको एक लाख बचत होला। अहिले हामी एकैपटक बाँड्ने योजनामा छौँ। दामासाहीले बाँड्दा जति पनि पर्न सक्छ। पहिलो चरणमा जति पुग्छ, त्यो बाँड्छौँ । बाँकी पछि तपाईंले भनेजस्तै किस्ताबन्दीमा नै बाँड्ने योजना छ।

दुई वा बढी चरण पनि लाग्न सक्छ ?

अँ, त्यो त अवश्य नै लाग्ने नै भयो।

यदि बचतकर्ताहरू छुटे भने त्यसका लागि के व्यवस्था छ ?

पहिलो मागदाबी गरेका र दोस्रो मागदाबी गरेकालाई नै हामीले पैसा बाँड्ने हो। जसले मागदाबी गर्न छुटाउनुभएको छ, उहाँहरूको हकमा भने अहिले हामीले केही गर्न सक्ने अवस्था छैन। उहाँहरूको लागि छुट्टै साउनको पहिलो हप्तादेखि मागदाबी खुलाउने योजना छ। खुलेको बेलामा उहाँहरूले अनलाइन मागदाबी गर्नुपर्ने हुन्छ।

वर्तमान सरकार आएपछि सहकारीपीडितको अवस्था कस्तो छ ?  सरकारले सहकारीपीडितलाई कसरी प्राथमिकतामा राखेको छ ?

अहिलेको सरकारसँग जनताको आशा छ। त्यही अनुरूप सरकार पनि लागि परेको छ। सहकारीपीडितहरूलाई राहत दिनुपर्छ भन्ने अभियानमा जुटेको अवस्था छ। सरकारलाई हामीले पनि सक्दो मद्दत गरिरहेका छौँ।

कालोसूची प्रकाशन गर्ने र तीनपुस्ते नामावली सार्वजनिक गर्ने पनि हुँदैछ रे ? यसमा सत्यता छ ? भए कत्तिको प्रभावकारी भयो ?

हो, हामीले कालोसूचीमा नाम राख्ने, तीनपुस्ते नामावली सार्वजनिक गर्ने, चल-अचल सम्पत्ति रोक्का गर्ने गरेका छौँ। परिवार मात्र नभई नातागोताको पनि सम्पत्ति रोक्का गर्ने गरिएको छ। यो कदम अहिले प्रभावकारी नै भएको छ।

ब्ल्याक होलको परिक्रमा गर्ने ब्लानेट्समा बसोबास सम्भव छ ?

काठमाडौं । विश्व ब्रह्माण्ड असंख्य रहस्यहरूले भरिएको छ।  तीमध्ये सबैभन्दा रोचक र कल्पनापूर्ण तर वैज्ञानिक रूपमै सम्भावित अवधारणामध्ये एक हो-ब्ल्याक होलको वरिपरि परिक्रमा गर्ने ग्रह, जसको वैज्ञानिक नाम ब्लानेट हो ।

सामान्य मानिसको दृष्टिमा ब्ल्याक होल अत्यन्त जोखिमपूर्ण, सबै वस्तु निल्ने, प्रकाशसमेत नफर्कने भयानक खगोलीय संरचना हो।  तर ब्ल्याक होलको बाहिरी गुरुत्वाकर्षण प्रभाव भने एकदमै सामान्य छ, जुन समान द्रव्यमान भएको कुनै ताराको गुरुत्वाकर्षणभन्दा फरक पर्दैन। यही कारणले ग्रहहरूले तारालाई जस्तै गर्दै कालो प्वाललाई पनि परिक्रमा गर्न सक्छन्। 

ब्रह्माण्डका धेरै ब्ल्याक होलहरू ठुला छैनन्।  धेरैजसो सूर्यको तीन गुणामात्र द्रव्यमान भएका ‘स्टेलर-मास’ ब्ल्याक होल हुन्छन्, जुन कोर-कलेज सुपरनोभाबाट विशाल तारा विस्फोट भएर मर्दा वा दुईवटा न्यूट्रोन तारा आपसमा ठोक्किँदा बन्ने गर्छन्। यस्ता शक्तिशाली विस्फोटपछि केही पदार्थ फेरि ब्ल्याक होल वरिपरि फर्किएर डिस्क वा बादल बनाउँछ। यही अवशेषबाट ब्लानेटहरू बन्ने सम्भावना रहन्छ । 

ग्रहहरूले सुपरनोभापछि पनि आफ्नो कक्षा कायम राख्न सक्छन् भन्ने प्रमाण न्यूट्रोन ताराको वरिपरि परिक्रमा गर्ने साना ग्रहहरूको खोजबाट नै प्राप्त भइसकेको छ।  न्यूट्रोन तारा आफैँ पनि सुपरनोभा विस्फोटपछि बन्ने हो। यस्तो अवस्थामा, यदि ग्रहहरूले सुपरनोभाजस्तो विध्वंसकारी घटना पनि झेल्न सक्छन् भने ब्ल्याक होल  वरिपरि ग्रह बन्नु त झन् सम्भव छ। तर कालो प्वाललाई सुरक्षित मान्न सकिने अवस्था पनि छ। यदि ब्ल्याक होलको वरिपरि पर्याप्त ग्यास वा धुलो छैन र त्यो सक्रिय रूपमा पदार्थ नखाइरहेकाले घातक विकिरण निकालिरहेको छैन भने वातावरण अत्यन्त शान्त रहन सक्छ। यस्तो निष्क्रिय ब्ल्याक होल ग्रहका लागि खासै खतरनाक हुँदैन।

यद्यपि ऊर्जा भने मुख्य चुनौती हो।  ब्ल्याक होल ताराजस्तो प्रकाश वा ताप उत्पन्न गर्दैन। कुनै ब्लानेट वासयोग्य हुन विशेष संयोजन आवश्यक पर्छ। त्यसको पहिलो सम्भावित स्रोत हो- ज्वारीय ताप । यदि ब्लानेटसँग ठूलो चन्द्रमा छ वा ब्लानेट आफैँ कुनै ठूलो ग्रहको चन्द्रमा हो भने गुरुत्वाकर्षणीय तानातानले ग्रहको भित्री भाग तताउन सक्छ। यसरी उत्पन्न तापले सतहमुनि विशाल महासागर कायम गर्न सक्छ, जुन युरोपा वा एनसेलाडसमा देखिएको सम्भावनासँग मेल खान्छ। 

ब्लानेटको अर्को ऊर्जा स्रोत हो-रेडियोधर्मी क्षयबाट पाइने आन्तरिक ताप। सुपरनोभा वा किलोनोवा (न्यूट्रोन तारा-मर्जर) बाट बनेका ग्रहहरूको भित्री भागमा रेडियोधर्मी तत्वहरूको मात्रा धेरै हुन सक्छ, जसले लाखौँ वर्षसम्म ग्रहलाई भित्री ताप प्रदान गर्न सक्छ। 

यसको वासयोग्यको तेस्रो स्रोत अझ रोचक छ-नजिकै सानो तारा उपस्थित हुनु। कतिपय अवस्थामा ब्ल्याक होल  र सानो तारा मिलेर द्वैतीय प्रणाली बनाउँछन्। यस्तो सेटअपमा ग्रहले ताराबाट उज्यालो र ताप पाउँछ भने ब्ल्याक होलको स्थिर गुरुत्वाकर्षणले आफ्नो कक्षा सुरक्षित राख्छ। यो अवस्थामा सतहमै जीवन विकास भएर प्राविधिक सभ्यता जन्मिन सक्ने सम्भावना वैज्ञानिकहरूले अस्वीकार गरेका छैनन्। ब्ल्याक होलको नजिक उन्नत भौतिक प्रयोग गरी गुरुत्वीय तरंग, समय-विस्तार वा उच्च-ऊर्जा कणहरूको अध्ययन गर्न सक्थे-जसरी हामी कल्पनासम्म गर्न सक्दैनौँ।

ब्लानेटमा जीवन सम्भव हुनुका वैज्ञानिक आधारहरू यथार्थपरक छन्। ग्रहलाई ब्ल्याक होलले वा ताराले घुमाइदिन्छ भन्ने फरक पर्दैन। यसमा बाहिरबाट देखिने गुरुत्वाकर्षण समानै हुन्छ। जीवनका लागि ऊर्जा फ्लक्स पृथ्वीका लागि लगभग २००-२६० वाट/मिटर² जति आवश्यक हुन्छ। यदि यो ऊर्जा ज्वारीय ताप, आन्तरिक रेडियोधर्मी ताप वा नजिकैको ताराबाट प्राप्त भयो भने सतह वा सतहमुनि तरल पानी कायम रहन सक्छ। 

सतहमुनि रहेका महासागरहरू जीवनको उत्कृष्ट आधारशिला बन्न सक्ने धेरै वैज्ञानिकहरूको मान्यता छ । यस्तो वातावरणमा जीवाणु, सूक्ष्म जीव वा आवश्यकता परेमा जटिल जीव पनि विकसित हुनसक्छन्। ब्ल्याक होल सक्रिय नभएकाले घातक एक्स-रे वा गामा विकिरणबाट ग्रह सुरक्षित रहन सक्छ, जसले वातावरण थप स्थिर राख्छ।

ब्लानेटको अवधारणा वैज्ञानिक हिसाबले धेरै नै सम्भावित मानिन्छ । यद्यपि यस्ता ग्रहहरू अत्यन्तै विशिष्ट परिस्थितिहरूमा मात्र बन्ने र दीर्घकालसम्म टिक्ने सम्भावना हुन्छ। तर ब्रह्माण्डको असीमित विस्तारले हेर्दा यस्ता असाधारण संरचनाहरू कतै न कतै अवश्य नै अस्तित्वमा हुनसक्छन्। 

‘अन्तिम भोज’

अन्धकार, निर्जन, डरलाग्दो एकलासे जंगलबाट पार गर्दागर्दै अकस्मात् म यस्तो ठाउँमा पुगेँ, जहाँ उज्यालो नै उज्यालो थियो ।

म आनन्दले एकदम प्रफुल्लित भएँ । अघि भर्खरका दुःखकष्टहरू सबै बिर्सेर म दुगुर्दै, हुत्तिँदै त्यस ठाउँमा पुगेँ, जहाँ मनुष्यको न्यानो माया मलाई पर्खिरहेको थियो । मैले मनुष्यको अनुहार नदेखेको धेरै दिन भइसकेको थियो । त्यसैले म व्यग्र थिएँ ।

त्यो ठाउँ अत्यन्त रमणीय थियो । एउटा ठूलो भोज त्यहाँ भइरहेको रहेछ । जताततै रङ्गीचङ्गी निला, रातो, पहेँला, हरिया र सेता बत्तीहरू बलिरहेका रहेछन् ।

ठूलो चौरका चारैतिर कलापूर्ण बगैँचा उज्यालोमा जग्मगाइरहेको थियो । विभिन्न प्रकारका रङ्गीबिरङ्गी फूलहरू सुगन्ध छरेर बिउँझिरहेका थिए । त्यसभन्दा पनि बढी विभिन्न रङका पोसाकमा लोग्नेमानिस र स्वास्नीमानिसहरूको ठूला जमात त्यस ठाउँमा जम्मा भएर यताउति गरिरहेका थिए । ती सुगन्धित फूलहरूभन्दा पनि ती अति आकर्षक थिए । मलाई यस्तो लाग्थ्यो,स्वर्गको एक टुक्रा त्यस ठाउँमा खसेको हो । म विमोहित भएर नजिकै गएँ ।

हरियो कोमल दुबो भरिएको फाँटमा श्रेणीबद्ध रूपमा टेबल-कुर्सीहरू लगाइएका थिए र हरेक टेबलको मध्यभागमा फूलदानमा फूलहरू मुस्काइरहेका थिए । प्रत्येक टेबलमा एक-दुई जना सेता पोसाक लगाएका केटाहरू खानेकुराहरू किस्तीमा बोकेर उभिएका थिए, कोही यताउति किस्ती बोकेर घुमिरहेका थिए । मलाई अत्यन्त भोक लागेको थियो ।

त्यसैले भोज भन्ने थाहा पाउनासाथ लाजै पचाएर म त्यसभित्र पसेँ । नजिकै पुगेपछि मैले चाल पाएँ, ती व्यक्तिहरूका लवाइ, बोलाइ र रूपरङ एकै प्रकारका रहेनछन् । कोही अमेरिकाली जस्तो लाग्यो, कोही रुसी जस्तो, कोही जर्मनेली, कोही चिनियाँ, कोही भारतीय, कोही अफ्रिकी, कोही इजिप्टवासी, इरानी, कोही बेलायती जस्तो ।

सारा संसारभरिका जातिहरू सङ्ग्रहालयमा सिँगारिएर थपक्क राखेझैँ ती मानिसहरू थिए । मैले उनीहरूलाई सर्सर्ती हेरेँ र खुसीले आफू दङ्ग हुँदै उनीहरूका माझमा पुगेँ । विश्वका सम्पूर्ण राष्ट्रका मानिसहरू जमघट भएको ठाउँमा पुग्नु मात्र म जस्ताका लागि ठूलो गर्व थियो । त्यसैले निम्तो आफूसँग नभएकामा मैले सङ्कोच पनि मानिनँ र म त्यसै पसिदिएँ ।

तैपनि पाहुनाहरूको हुलमा मिसिन मलाई अप्ठ्यारो लाग्दै थियो । एउटी अत्यन्त राम्री आइमाईले मलाई हात समाएर अरूसँग तान्दै अङ्ग्रेजी भाषामा भनी, ‘लौ, एक नवागन्तुक आइपुग्यो, नयाँ देशबाट।’ अनि मलाई सोधी, ‘कुन देशका हौ ?’

मैले भनेँ, ‘नेपाल !’

उसले मलाई टेबल-टेबलमा लगेर विभिन्न भाषाहरूमा बोल्दै चिनाई । मैले सबैसँग हात मिलाएर अभिवादन गरेँ । त्यहाँ नभन्दै संसारभरिका विशिष्ट र प्रसिद्ध मानिसहरू जम्मा भएका रहेछन्,ठूला-ठूला नेता, राष्ट्रपति, प्रधानमन्त्री, कवि, लेखक, गायक, नर्तकी, कुलपति, वैज्ञानिक, प्राध्यापक, उद्योगपति, प्रबन्धक आदि ।

उनीहरूका माझमा मलाई आफू अत्यन्त होचो र सानो जस्तो अनुभव भयो, तैपनि ठाडो भएर उभिइरहेँ । उसले मलाई जता-जता तान्दै लगी, त्यतै-त्यतै म लाग्दै रहेँ ।

आखिर तीन–चार जना मात्र भएको टेबलमा उभ्याएर उसले मलाई भनी, ‘यही टेबलमा बसेर आजको अन्तिम भोज मनाऔँ, हुन्न ?’

‘आज यो विश्वमै अन्तिम भोज हो । यस्तो भोज यो पृथ्वीमा कहिल्यै हुन पाउनेछैन । यो रातपछि पृथ्वीमा कहिल्यै रात पर्दैन ।’

‘लौ, लेऊ यो ब्रान्डीको गिलास ।’

गिलास हातमा लिँदै आफ्नो आत्मीयझैँ सम्झेर मैले ऊसँग लाज नमानी सोधेँ, ‘आज साँच्ची यो केको भोज हो ? भन्नुहोस् ।’

आश्चर्य मान्दै उसले मतिर विस्फारित लोचनले हेरेर अरूसँग हाँस्दै भनी, ‘हेर, यो कस्तो अनौठो मानिस ! आज केको भोज भनेर पो सोध्छ !’

मतिर हेरेर नपत्याएझैँ गरी फेरि उसले सोधी, ‘साँच्ची, आज केको भोज हो तिमीलाई थाहा छैन ?’

मैले लजाएर उत्तर दिएँ, ‘म त घुम्दै आएको, यहाँ आइपुगेँ । मलाई अत्यन्त भोक लागेकाले यहाँ पसेको । मसँग निम्तो पनि छैन । के गरूँ, म जाऊँ कि ?’

म लाजले मरेतुल्य भएको थिएँ । म चोर पक्डापरी परेझैँ भएको थिएँ ।

उसले हतारिएर झटपट भनी, ‘होइन, होइन, बस । तिमीलाई थाहा रहेनछ त के भयो ? बरु सुन, म तिमीलाई बताउँछु—आज यो विश्वमै अन्तिम भोज हो । यस्तो भोज यो पृथ्वीमा कहिल्यै हुन पाउनेछैन । यो रातपछि पृथ्वीमा कहिल्यै रात पर्दैन । थाहा पायौ ?’

मैले थाहा पाएझैँ टाउको हल्लाएँ । मेरो मगजमा निम्तो कार्ड मात्र घुमिरहेको थियो । निम्तो कार्ड भएको भए मलाई यसरी लज्जित हुनुपर्ने नै थिएन ।

तर ऊ उल्लसित हुँदै भन्दै गई, ‘यो पृथ्वीमा कहिल्यै रात पर्दैन । यही अन्तिम रात हो । यहाँ संसारका सम्पूर्ण राष्ट्रका उच्च पदाधिकारीदेखि लिएर महान् व्यक्तिहरू सबै जना एउटा उद्देश्यले, एउटा अभिलाषाले जम्मा भएका छन् ।

यस्तो एकमत अहिलेसम्म विश्वका राष्ट्रहरूमा कहिल्यै देखिएको थिएन । यो एउटा अनुपम घटना हो । यो अनुपम घटना यस पृथ्वीमा फेरि कहिल्यै दोहोरिने पनि छैन ।

सुन, झिसमिसे बिहान हुन नपाउँदै यहाँका ठूला-ठूला राष्ट्रका राष्ट्रपति र प्रधानमन्त्रीहरूले आफ्ना देशमा कस्ता परमादेश पठाउनेछन् भने उनीहरूका देशमा रहेका सम्पूर्ण आणविक अस्त्रहरू तथा ठूला-ठूला अणुबमहरू एकैचोटि, एकै समयमा विस्फोट गरिनेछन् र पृथ्वीलाई टुक्राटुक्रा पारेर ब्रह्माण्डमा हुर्‍याइनेछ । पृथ्वीको अन्त्य गरिनेछ ।

मनुष्यको पृथ्वीमाथि ठूलो विजय हुनेछ । त्यसैले आजको एकमात्र अन्तिम रातमा यसरी यो प्रीतिभोज मनाइँदै छ । आज तिमी हामी पनि मनुष्यको यस महान् विजयमा विजयोत्सव मनाऔँ !’

उसले रक्सीको गिलास गर्वपूर्वक ओठसम्म उठाई । अरूहरूले पनि गम्भीरतापूर्वक त्यसै गरे ।

तर मैले गिलास उठाउन सकिनँ । कसरी म पृथ्वीको अन्त्यमा विजयोत्सव मनाउन सक्छु ?

आखिर गिलास त्यसै मिल्काएर म त्यहाँबाट भाग्न थालेँ । भोलि बिहान सूर्योदय नहुँदै पृथ्वीको सर्वनाश हुनेछ-म यसै कुराले लखेटिँदै भोकै भाग्दै छु, दुगुर्दै छु ।

मेरो प्यारो पृथ्वी, मेरो प्यारो धर्ती भोलि रहने छैन ! उफ् ! भोलि रहने छैन !

मेरो माटो सुँघेर म भाग्दै छु ।

 

पार्टीलाई प्रश्न गरेको भन्दै आशिकालाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी

काठमाडौं । फाइभ स्टार होटेलमा कार्यक्रम किन गरेको भन्दै पार्टीलाई प्रश्न सोधेपछि सांसद आशिका तामाङलाई पार्टीले स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

सामाजिक सञ्जालमा पार्टी गतिविधिबारे लगातार टिप्पणी गरेपछि उनलाई स्पष्टीकरण सोध्ने तयारी भएको रास्वपाका एक नेताले जानकारी दिएका छन्।

शनिबारदेखि सुरु भएको पार्टीका सांसदहरूका लागि संसदीय अभ्यास तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रमबारे पनि उनले सामाजिक सञ्जालमा असन्तुष्टि जनाउँदै टिप्पणी गरेकी छन्।

जावलाखेलस्थित स्टाफ कलेजमा सुरु भएको दुई दिने प्रशिक्षण कार्यक्रमलाई लिएर उनले सिंहदरबारबाहिर आयोजना गरिएकोप्रति प्रश्न उठाएकी हुन्। सामाजिक सञ्जालमा उनले यस्तो कार्यक्रम सिंहदरबारमै उपलब्ध हलहरूमा गर्न सकिने भए पनि बाहिर किन गरिएको भन्दै प्रश्न गरेकी छन्।

उनले सांसदहरूको सुरक्षाका लागि मात्र बाहिर कार्यक्रम गरिएको हो भने के सुरक्षा केवल एक दिनका लागि मात्र आवश्यक हो भन्ने प्रश्न पनि उठाएकी छन्। साथै, पार्टीले फजुल खर्च नगर्ने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा त्यसको विपरीत देखिएको भन्दै उनले प्रश्न गरेकी छन्-’यदि यस्तै हो भने पुराना र नयाँ पार्टीमा के फरक भयो त?’

चलचित्र लालीबजारविरुद्ध माइतीघरमा प्रदर्शन(भिडियो)

काठमाडौं। प्रदर्शनरत नेपाली चलचित्र लालीबजार बन्द गर्नुपर्ने माग गर्दै शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा सहभागीहरूले ‘लालीबजार फिल्मलाई बन्द गर’, ‘वादी जातिको सम्मान कायम गर’, ‘चलचित्र विकास बोर्ड मुर्दावाद’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

विरोध प्रदर्शनमा सहभागी डा. रोशनी नेपाली वादीले न्यायका लागि अदालत पुगे पनि न्याय नपाएको गुनासो गरिन् ।

उनले भनिन्, ‘न्यायको लागि न्यायालय गएका हामीलाई न्यायालयले गत २३ गते जुन परिणाम दियो, उच्च अदालतले मुद्दा बन्द नहुँदै पेशी तोक्दा–तोक्दै नजिरमा रहेको केसमा अन्तरिम आदेश दिएर फिल्म चलाउने अनुमति दिइसकेपछि हाम्रो न्याय पैसामा बिक्दो रहेछ भन्ने अनुभूति भयो । सदनमा बसेर माफी माग्ने सरकार आए पनि हामीले न्याय पाउन सकेनौँ, त्यसैले हामी सडकमा छौँ ।’

उनले उक्त मुद्दाको आगामी सोमबार पेशी तोकिएको जानकारी दिँदै भनिन्, ‘यो मुद्दा सर्वोच्च अदालतमा छ । छलफलपछि के परिणाम आउँछ, त्यो पछि थाहा हुन्छ । हाम्रो मुद्दा लालीबजार बन्द गर्नका लागि नै हालिएको हो, काटछाँट वा केही दृश्य परिवर्तन गर्ने विषय होइन ।’

निमार्ण टीमले वादी समुलायमा बसेर बनाएको कथा भन्दै प्रचार गरिएकोमा पनि उनले आपति जनाइन् ।

मुस्ताङ : पर्यटनको आकर्षक गन्तव्य(तस्वीरहरु)

मुस्ताङ। हिमाली जिल्ला मुस्ताङ पछिल्लो समय नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, हिमाली भू–दृश्य, प्राचीन संस्कृति तथा धार्मिक सम्पदाले भरिपूर्ण मुस्ताङले आन्तरिक तथा बाह्य पर्यटकलाई समान रूपमा आकर्षित गरिरहेको छ।

समुद्री सतहबाट उच्च भूभागमा रहेको मुस्ताङलाई नेपालको “हिमाली मरुभूमि” पनि भनिन्छ। यहाँको प्रसिद्ध मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल हो। हरेक वर्ष हजारौँ भक्तजन मुक्तिनाथ दर्शनका लागि पुग्ने गरेका छन्। त्यस्तै, लोमान्थाङ दरबार, प्राचीन गुम्बा, ढुंगाले बनेका गाउँ तथा कालीगण्डकी नदी किनारका दृश्य पर्यटकका मुख्य आकर्षण बनेका छन्।

सडक सञ्जाल विस्तार र हवाई पहुँच सहज बन्दै गएपछि मुस्ताङमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको व्यवसायीहरू बताउँछन्। विशेषगरी पोखराबाट सडकमार्ग हुँदै जाने आन्तरिक पर्यटकको संख्या पछिल्ला वर्षमा तीव्र रूपमा वृद्धि भएको छ। चिसो मौसममा हिमाल अवलोकन, मोटरसाइकल तथा जिप यात्रा, पदयात्रा र धार्मिक भ्रमणका लागि पर्यटक मुस्ताङ पुग्ने गरेका छन्।

विदेशी पर्यटकहरू पनि मुस्ताङको अनौठो भूगोल, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो जीवनशैली र साहसिक पर्यटनका कारण आकर्षित हुने गरेका छन्। होटल व्यवसायीका अनुसार युरोप, अमेरिका, चीन तथा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ।

पर्यटन व्यवसायीहरूले मुस्ताङलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रवर्द्धन गर्न पूर्वाधार, सरसफाइ, सुरक्षित यात्रा र पर्यटकमैत्री सेवा विस्तार क आवश्यक रहेको बताएका छन्। प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिएको मुस्ताङ नेपालको पर्यटन क्षेत्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको छ।

कामु प्रधानन्यायाधीश मल्लको जिकिर, ‘विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ'(भिडियो)

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, विधिको शासन र नागरिकका मौलिक अधिकारको संरक्षणप्रति न्यायपालिका दृढ रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।

७४औँ कानुन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालको संविधानले परिकल्पना गरेको संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिका तथा मानव अधिकारको प्रत्याभूति सुनिश्चित गर्दै न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको उल्लेख गरिन्।

उनले वर्तमान अवस्थामा कुनै पनि विचलन बिना विधिको शासन, मौलिक अधिकार र मानव अधिकारको पूर्ण कार्यान्वयनमार्फत न्यायपूर्ण समाज स्थापना गर्न कानुन दिवसले सबैमा सकारात्मक सोच र भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिन्।

मल्लले न्यायपालिकामा हुने सुधार केवल न्यायपालिकाको मात्र दायित्व नभई राज्यका सबै अंगहरूको साझा जिम्मेवारी भएको बताउँदै यसको सुदृढीकरणका लागि समन्वयात्मक र एकीकृत प्रयास आवश्यक रहेको धारणा राखिन्।

उनका अनुसार न्यायपालिकाले रणनीतिक योजनामार्फत अघि सारेका सुधारका कार्यक्रमहरूमा न्यायाधीश, सरकारी वकिल, कानुन व्यवसायी, अदालतका कर्मचारी तथा अन्य सरोकारवाला निकायको सक्रिय सहयोग अपेक्षित छ।

सन्देशमा उनले संविधान, कानुन र न्यायका मान्य सिद्धान्तअनुसार न्याय सम्पादन हुँदै आएको उल्लेख गर्दै न्यायिक सुधारलाई संस्थागत र प्रभावकारी बनाउन विसं २०६१ सालदेखि रणनीतिक योजना कार्यान्वयन भइरहेको जानकारी दिइन्।

हाल पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनमा रहेको उल्लेख गर्दै उनले आर्थिक वर्ष २०८१/८२ मा योजनाका सूचकहरू उत्साहजनक देखिएको र न्यायिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताइन्।

उनका अनुसार ती उपलब्धिहरूको संरक्षण गर्दै संस्थागत सुदृढीकरण र सुधार प्रक्रियालाई अझ प्रभावकारी बनाउन न्यायपालिका प्रतिबद्ध रूपमा अघि बढिरहेको छ।

नेपाल प्रधान न्यायालय ऐन, २००८ विसं २००९ साल वैशाख २६ गते लागू भएको दिनको स्मरणमा प्रत्येक वर्ष वैशाख २६ लाई कानुन दिवसका रूपमा मनाइँदै आएको छ।

रास्वपाको सांसद प्रशिक्षण कार्यक्रमप्रति रास्वपा सांसद तामाङको प्रश्नैप्रश्न(भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पार्टीद्वारा सांसदहरूका लागि फाइभ स्टार होटलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमप्रति कडा आपत्ति जनाएकी छन्। जावलाखेलस्थित होटलमा शनिबार आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको खर्च र आवश्यकतामाथि प्रश्न उठाउँदै उनले महँगो होटल रोज्नुको औचित्यमाथि प्रश्न उठाएकी हुन् ।

उनका अनुसार सांसदहरूको प्रशिक्षण वा अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै अनिवार्य हुने कुनै बाध्यता नभएको र सिंहदरबारभित्रै पर्याप्त सभाहलहरू उपलब्ध हुँदाहुँदै बाहिर महँगो स्थान रोज्नुको कारण स्पष्ट हुनुपर्ने धारणा व्यक्त गरेकी हुन् । 

‘संसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरु बाहिर कसैसँग हल् सापटी लिएर गर्नु  पर्नु कुनै बाध्यता पक्कै होइन होला ?? सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति , बाहिर किन आखिर ?’ उनले लेखेकी छन्।  

उनले बाहिर कार्यक्रम गर्दा लाग्ने खर्चको लेखाजोखा कसले गर्ने भन्ने प्रश्न पनि उठाइन्। तामाङले यदि सुरक्षाको कारण देखाएर महँगो होटल छनोट गरिएको हो भने त्यो तर्क पनि कमजोर हुने बताउँदै सांसदहरूको सुरक्षा आवश्यकता एक दिन मात्र नभई नियमित रूपमा रहने उल्लेख गरिन्।

उनी अगाडि लेख्छिन्, ‘बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखा जोखा कस्ले गर्ने?? कि सांसदहरूलाई सुरक्षाको लागि महंगा हलहरुमा कार्यक्रम गरिएको  हो भने के एक दिन मात्र चाहिने हो सुरक्षा?? अरु दिन चाहिँ पर्दैन?’

उनले आफूहरू परिवर्तनको एजेन्डासहित अघि बढिरहेको दाबी गर्दै फजुल खर्च नगर्ने प्रतिबद्धता व्यवहारमा अडिग रहनुपर्नेमा जोड दिइन्। उनका अनुसार यस्तो अभ्यास दोहोरिँदै गए नयाँ र पुराना राजनीतिक अभ्यासबीचको भिन्नता नै हराउने खतरा रहन्छ।

समुन्द्रको तापक्रम बढ्दै

 

 

 

टिप्पर र बस ठोक्किँदा १० जना घाइते

दमक।झापाको गौरादह नगरपालिका–५ स्थित स्कुलचौन बजारमा आज बिहान यात्रुवाहक बस र ढुंगा–गिटी बोक्ने टिपर एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे.१.ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ गइरहेको प्र–न–२–०३–००१ ख ७१५३ नम्बरको टिपर भित्री सडकखण्डमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा बस चालक कृष्णप्रसाद राजवंशीसहित योगमाया निरौला, कल्पनाप्रसाद उराउ, शारदादेवी पौडेल, सलिना खत्री र उनकी छ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका छन्।

घाइतेमध्ये योगमाया निरौलाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि दमकस्थित निम्स अस्पताल लगिएको प्रहरीले जनाएको छ। बाँकी घाइतेहरूको नगर अस्पताल गौरादहमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुई जना घाइतेको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य छ। दुर्घटनापछि प्रहरी चौकी महारानीझोडाले टिपर चालकसहित दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

युवती मृत फेला परेपछि तीन जना नियन्त्रणमा

काठमाडौँ। निजगढ नगरपालिका–९ स्थित गुरुङ होटलमा १९ वर्षीया सीता थिङ मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्या आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घाँटी थिचेर हत्या गरिएको हुन सक्ने प्रारम्भिक आशङ्का गरेको छ ।

घटनास्थलबाट प्रमाण सङ्कलन गरिएको र शव पोस्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।

शान्ति लिम्बू सेलिङकाे कविता कृति `थेम्सकाे लहरमा तमाेरकाे स्पर्श´ सार्वजनिक

काठमाडौं । बेलायत निवासी कवि शान्ति लिम्बू सेलिङकाे कविता कृति `थेम्सकाे लहरमा तमाेरकाे स्पर्श´ विमाेचन शनिबार गरिएको छ । नेपाली साहित्य र सामाजिक क्षेत्रमा एक सुपरिचित कवि लिम्बूको याे पाँचौ कृति हाे ।

कविता संग्रहमा सङ्ग्रहित कविताहरूले प्रवासको जीवन (लन्डन) र आफ्नो मातृभूमिको सुगन्ध (पूर्वी नेपालकाे पाँचथर) बीचको भावनात्मक सम्बन्धलाई उजागर गर्दछन् । थेम्सको आधुनिकता र तमोरको प्राचीनता यस कृतिको मूल भाव हो। कविताहरू सांस्कृतिक पहिचान र परम्परा, प्रवासका अनुभूति र नोस्टाल्जिया, समाज र जीवनका विविध पाटारू, प्रकृति र मानवीय संवेदनामा आधारित छन् 

 उनका रचनाहरूमा लिम्बु संस्कृति र नेपाली पहिचानको गहिरो छाप पाइन्छ ।

उनी भन्छिन्- `साहित्य मेरो लागि भावनाको अभिव्यक्ति मात्र होइन, समाजसँग जोडिने सेतु पनि हो।´

उनै कवि लिम्बूको कविता कृति लेखक खगेन्द्र सङ्ग्राैलाले विमाेचन गरेका हुन् । संग्रौलाले लिम्बूकाे कृतिमा देश छोड्नु पर्ने विवशता, प्रवासी जीवनका विषय, मानव जीवनको जरा, नारी चेतनाका विषय समेटिएको बताए ।

कवितामा प्रयुक्त विम्ब`तमोर´ देशकाे पूर्वी क्षेत्रकाे नदी हाे । लिम्बू संस्कृतिको उद्गम स्थल हो । कवयित्रीले आफ्ना कविताहरूमा तमोरका ढुङ्गा र माटोसँगको सामीप्यतालाई `स्पर्श´ को रूपमा प्रस्तुत गरेकी छन् ।

कविताकाे यो खण्डले मातृभूमिप्रतिको अगाध प्रेम र पुर्खाले छोडेका पदचापहरूलाई स्मरण गराउँछ ।

कविताकाे अर्को खण्ड `थेम्सको लहर´ कवयित्री लिम्बूको आधुनिक यात्रा हाे । प्रवासी जीवनकाे अभिव्यक्ति हाे । लन्डनको मुटु भएर बग्ने `थेम्स´ नदी आधुनिक जीवनको प्रतीक हो । प्रवासमा रहेर पनि नेपाली मुटु बोक्ने स्रष्टाले `थेम्सका लहरहरू´मा आफ्नै देशको विम्बहरू कवितामार्फत् प्रकट गरेकी छन्  

अर्को शब्दमा यो कविता संग्रहले विश्वका दुई फरक भूगोललाई जाेडेकाे छ ।

समालोचक गुरूङ सुशान्तले `तमाेर र थेम्स´दुई फरक सभ्यतालाई जाेडेर कवयित्रीले `कवितात्मक भूगोल´बनाएकाे बताए । कवितामार्फत् गाेर्खा भर्तीकाे पुनर्विचारकाे माग गरेकी छन् । प्रतिरोधी स्त्री चेतनाकाे सशक्त प्रकटीकरण भएको गुरूङ बताउँछन् । उनका कविताहरूलाई गुरूङले `प्रतिरोधकाे भाषा´ भनेका छन् । 

कवि विमला तुम्खेवाअनुसार स्वलेखकीय शैलीसहित कविता साहित्यमा प्रभावशाली उपस्थिति जनाएकी लिम्बूको कविताहरू शक्तिशाली भावनाहरूकाे दस्तावेज हाे । 

डा. तुलसी गाैतमले `थेम्सकाे लहरमा तमाेरकाे स्पर्श´नारी संवेदनाकाे दृष्टिले अब्बल कृति भएको बताए । उनले भने- `किन किनारिन्छन् आमाहरू ?´ र `प्रेम´ जस्ता कविताहरूमा नारी संवेदना अत्यन्तै सशक्त ढङ्गले प्रकट भएको छ ।´  

कवयित्री लिम्बूको काव्यिक चेतशक्ति चानचुने नभएको र त्याे कविताहरूमा जीवन्त रूपमा अभिव्यक्त भएको पनि समालाेचक गाैतमले बताए । 

चलचित्र निर्देशक एवम् कवि नविन लिम्बुले उक्त कृतिमा याक्थुङ चेतना, समग्रता, सम्पूर्णता, सहअस्तित्व रहेको उल्लेख गर्दै महिलावादको विषय पनि रहेको भनाइ राखे ।

ट्रम्पद्वारा रुस-युक्रेन युद्धमा तीन दिने युद्धविराम घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धमा तीन दिने युद्धविराम घोषण भएको जानकारी दिएका छन्। ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै मे ९, १० र ११ का लागि युद्धविराम लागू हुने बताएका हुन्।

ट्रम्पको घोषणापछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि एक्समार्फत अमेरिकी पहलमा चार वर्षदेखि जारी युद्धलाई अन्त्यतर्फ डोर्याउने प्रयासस्वरूप तीन दिने युद्धविराममा सहमति भएको पुष्टि गरे।

यस विषयमा रुसी पक्षले पनि प्रतिक्रिया दिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभका अनुसार अमेरिकी प्रशासनसँग टेलिफोनमार्फत समन्वय गरी युद्धविरामको सहमति गरिएको हो। उनले अमेरिकाले कीभसँग पनि प्रत्यक्ष सम्पर्क गरेको बताए। हालै पुटिन र ट्रम्पबीच भएको टेलिफोन संवादमै विजय दिवसको अवसर पारेर युद्धविरामको सम्भावनाबारे छलफल भएको उशाकोभले बताए।

यसअघि रुसले मे ९ का लागि दोस्रो विश्वयुद्ध विजय दिवसको अवसरमा दुई दिने एक पक्षीय युद्धविराम घोषणा गरेको थियो। युक्रेनले पनि युद्धविराम प्रस्ताव गरेको तर मस्कोले प्रारम्भमा बेवास्ता गरेको दाबी गरेको थियो। ट्रम्पले आफूले प्रत्यक्ष रूपमा युद्धविराम प्रस्ताव गरेको उल्लेख गर्दै दुबै देशका नेतालाई सहमतिका लागि धन्यवाद दिएका छन्।

राष्ट्रपति ट्रम्पका अनुसार युद्धविराम अवधिमा सबै प्रकारका सैनिक गतिविधि रोकिनेछन्। साथै दुवै मुलुकले १,०००-१,००० युद्धबन्दी साटासाट गर्नेछन्, जसको पुष्टि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि गरेका छन्।

‘युद्ध अन्त्यका लागि वार्ता निरन्तर जारी छ, हामी समाधानतर्फ नजिकिँदै गइरहेका छौँ,’ ट्रम्पले भने। ‘आशा छ, यो लामो, घातक र कठिन युद्धलाई अन्त्यतर्फ डोर्याउने सुरुआत हुनेछ।’

नेपाल ‘ए’ सामु ३०३ रनको लक्ष्य

काठमाडौं । जारी पाँचौँ एकदिवसीय खेलमा स्कटल्याण्डले नेपाल-ए का लागि ३ सय ३ रनको चुनौतीपूर्ण लक्ष्य तय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रन जोड्यो। सुरुवाती जोडीका जर्ज मुन्से सर्वाधिक रन योगदान गर्ने खेलाडी बने। उनले ५१ बलमा ६ चौका र ३ छक्कासहित विस्फोटक ६२ रनको इनिङ्स खेले।

त्यस्तै, मध्यक्रमका माइकल इङ्लिसले अर्धशतक पूरा गर्दै ५६ रन जोडे। कप्तान रिचर्ड बेरिंग्टनले ४० रनको योगदान दिए भने ब्राण्डन म्याकमुलनले ३९ तथा ज्याक जार्विसले तेज ३० रन थपे। यी सबै योगदानले स्कटल्याण्डलाई ठूलो स्कोर बनाउन मद्दत गर्‍यो।

नेपाल-ए तर्फबाट आकाश चन्द उत्कृष्ट प्रदर्शन गरे। उनले ९ ओभर बलिङ गर्दै ५९ रन खर्चिए पनि ३ महत्वपूर्ण विकेट लिन सफल भए। शेर मल्ल, विपिन खत्री, पवन सर्राफ र कुशल मल्लले पनि समान १–१ विकेट हात पार्दै सहयोग गरे।

पाँच वर्षमा २९ जना रक्तदातामा एचआईभी पोजेटिभ फेला

झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआईभी संक्रमण (रिएक्टिभ) फेला परेको छ।

सुरक्षित रगत आपूर्तिका लागि सोसाइटीले झापाको भद्रपुर, बिर्तामोड र दमकमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ। सङ्कलित रगत बिरामीलाई चढाउनुअघि एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र भिरिङ्गीजस्ता सरुवा रोगहरूको अनिवार्य प्रयोगशाला परीक्षण गर्ने क्रममा यो तथ्य बाहिर आएको हो।

रक्तसञ्चार सेवा केन्द्र भद्रपुरका इञ्चार्ज शिशिर दाहालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १ जना, २०७९/८० मा २ जना, २०८०/८१ मा ६ जना, २०८१/८२ मा १४ जना र २०८२/८३ मा ६ जना रक्तदातामा एचआईभी पोजेटिभ देखिएको हो। सबैभन्दा बढी केस २०८१/८२ मा देखिएको उनले बताए।

परीक्षणमा एचआईभी पोजेटिभ देखिएका रगतलाई थप पुष्टि परीक्षण र परामर्शका लागि सम्बन्धित व्यक्तिलाई सिफारिस गर्ने गरिएको रेडक्रसले जनाएको छ।

झापामा रेडक्रसले वार्षिक १७ हजार युनिटभन्दा बढी सुरक्षित रगत विभिन्न अस्पतालमा आपूर्ति गर्दै आएको छ। जिल्लामा करिब ५ हजारभन्दा बढी स्वयम्सेवी रक्तदाता रहेका छन्।

रेडक्रसका अनुसार वर्षायाम र खेतीको सिजनमा रक्तदान कार्यक्रम कम हुने भएकाले रगतको अभाव हुने गरेको छ। क्यान्सर, मिर्गौला रोग, एनिमिया लगायतका बिरामी बढ्दै जाँदा रगतको माग पनि निरन्तर बढिरहेको छ।

रेडक्रसले अनिवार्य परीक्षण प्रणालीले बिरामीलाई सम्भावित संक्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।

बालेनलाई गरिबमारा भन्दै दुर्गा प्रसाईंले जनाए असन्तुष्टि (भिडियो)

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएकोप्रति असन्तुष्टि जनाउँदै गरिब तथा श्रमिक वर्गमाथि अन्याय भएको आरोप लगाएका छन्।

भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले जीवनभरको मेहनतबाट बनेका घरहरू भत्काइँदा गरिबका सपना चकनाचुर भएको बताए।

उनका अनुसार ती बस्तीहरूमा बस्ने धेरैजसो मानिसहरू मजदुरी, सानो व्यवसाय र दैनिक श्रम गरेर जीवन चलाउने वर्ग हुन्। उनले भने, ‘कसैले मकै बेचेर, कसैले गिट्टी बोकेर, कसैले भारी बोकेर घर बनाएका थिए, तर ती सबै घर भत्काइयो। घरमात्र होइन, गरिबका सपना पनि भत्किए।’

प्रसाईँले प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल र ‘अल्गोरिदम’ को प्रयोगमार्फत फाँसीवादी शैलीमा शासन चलाउने प्रयास गरिरहेको आरोप पनि लगाए। उनका अनुसार सरकारले धनी वर्गकेन्द्रित शहर निर्माण गर्ने नीति लिएको छ, जसले मजदुर र श्रमिक वर्गलाई बेवास्ता गरेको छ।

उनले थपे, ‘हामीलाई धनी मात्र होइन, मजदुर, ड्राइभर, खलासी, मोची, नाई सबै चाहिन्छ। अहिले सिटीलाई धनी केन्द्रित बनाउने प्रयास भइरहेको छ।’

प्रसाईँले चुनावअघि नै दलहरूलाई एक ठाउँमा राखेर चुनावमा नजान सुझाव दिएको दाबी गर्दै अहिलेका राजनीतिक नेतृत्वप्रति पनि आलोचना गरे। उनले बालेन शाहलाई प्रधानमन्त्री बनाउने नाममा गरिबलाई विस्थापित गर्ने योजना चलिरहेको टिप्पणी गरे।

उनले शक्ति जनतामा हुनुपर्ने भन्दै वर्तमान राजनीतिक अभ्यासमा सचेत रहन चेतावनीसमेत दिएका छन्।

आईपिएलमा आज राजस्थान र गुजरातबीच निर्णायक भिडन्त 

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपिएल) २०२६ को ५२औँ खेलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स आमनेसामने हुँदैछन्। खेल जयपुरमा नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

अंक तालिकामा राजस्थान चौथो र गुजरात पाँचौँ स्थानमा रहेकाले यो खेल प्लेअफ दौडका लागि निकै महत्वपूर्ण मानिएको छ।

पहिले शीर्ष चार टोली लगभग तय भएको जस्तो देखिए पनि पछिल्ला खेलहरूमा अन्य टोलीहरूको प्रदर्शन सुधारिँदा प्रतिस्पर्धा अझै खुला बनेको छ। रोयल च्यालेन्जर्स बेंगलुरु, पञ्जाब किंग्स, सनराइजर्स हैदराबाद र राजस्थान अगाडि देखिए पनि अब स्थिति सुरक्षित छैन।

गुजरात पछिल्ला खेलहरूमा उत्कृष्ट लयमा छ। शीर्षक्रमका ब्याट्सम्यानहरू निरन्तर रन बनाइरहेका छन् भने वासिङ्टन सुन्दर र राशिद खानले पनि राम्रो प्रदर्शन गरिरहेका छन्। तीव्र गतिका बलरहरूको प्रदर्शन समेत प्रभावशाली छ।

राजस्थानले भने सिजनको सुरुवात राम्रो गरे पनि पछिल्ला खेलहरूमा निरन्तरता कायम राख्न सकेको छैन। दुवै टोलीले १० खेलमा ६ जित र ४ हार बेहोरेका छन् तर फर्ममा ठूलो भिन्नता देखिएको छ। गुजरात लगातार तीन खेल जित्दै आत्मविश्वासमा छ भने राजस्थानले पछिल्ला पाँच खेलमध्ये तीनमा हार बेहोरेको छ।

राजस्थानका लागि यो खेल अझ महत्वपूर्ण छ किनभने टोलीले अर्को खेल मे १६ मा मात्र खेल्नेछ, जसले अंक तालिकामा ठूलो असर पार्न सक्छ।

गुजरातको बलिङ बलियो पक्ष बनेको छ। कागिसो रबाडा र मोहम्मद सिराजले पावरप्लेमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् भने राशिद खानले मध्य ओभरमा दबाब सिर्जना गरिरहेका छन्। जेसन होल्डरको आगमनले बलिङ अझ मजबुत बनेको छ।

राजस्थान भने धेरै हदसम्म जोफ्रा आर्चरमा निर्भर देखिएको छ। अन्य बलरबाट पर्याप्त साथ नपाउँदा टोलीलाई समस्या भइरहेको छ। पछिल्ला तीन खेलमा राजस्थानले २२० भन्दा बढी रन खर्चिसकेको छ।

जयपुरको पिच उच्च स्कोरिङ देखिएको छ। राजस्थानले यस मैदानमा यस सिजन २२८ र २२५ रन बनाए पनि दुवै खेलमा हार बेहोरेको थियो। त्यसैले आज पनि उच्च स्कोरको अपेक्षा गरिएको छ।

ओसको प्रभाव पर्ने सम्भावना भएकाले टस जित्ने टोलीले पहिले बलिङ रोज्न सक्छ। गर्मी पनि खेलमा प्रभाव पार्ने देखिएको छ।

लिपुलेक-लिम्पियाधुरा : नेपालको दाबी, भारतले गर्यो अस्वीकार

काठमाडौं। लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्बन्धी विवाद फेरि चर्चामा आएको छ । भारत र चीनबीच लिपुलेक मार्ग हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालनको तयारी सार्वजनिक भएपछि नेपाल सरकारले उक्त क्षेत्र नेपालको अभिन्न भूभाग भएको अडान पुनः दोहोर्‍याएको हो ।

नेपालको परराष्ट्र मन्त्रालय ले १८१६ को सुगौली सन्धि, ऐतिहासिक नक्सा तथा उपलब्ध प्रमाणका आधारमा महाकाली नदीपूर्वका सम्पूर्ण भूभाग नेपालकै भएको स्पष्ट पारेको छ । मन्त्रालयले नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि कुनै सम्झौता नहुने सन्देश पनि दिएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपालले सीमा विवाद समाधानका लागि कूटनीतिक संवादलाई प्राथमिकता दिएको बताए । उनका अनुसार नेपालले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएर लिपुलेक मार्ग प्रयोगप्रति औपचारिक असहमति जनाइसकेको छ ।

नेपालले लामो समयदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ । विशेषगरी सन् २०१९ मा भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरी कालापानी क्षेत्रलाई आफ्नो नक्साभित्र राखेपछि नेपाल-भारत सम्बन्धमा यो विषय थप संवेदनशील बनेको थियो । त्यसको प्रतिक्रियास्वरूप नेपालले पनि नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्दै उक्त क्षेत्रलाई नेपालको नक्सामा समावेश गरेको थियो ।

भारतको पुरानै अडान कायम

भारतले नेपालको दाबी अस्वीकार गर्दै पुरानै अडान दोहोर्‍याएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेक हुँदै हुने कैलाश मानसरोवर यात्रा नयाँ विषय नभएको र सन् १९५४ देखि नै उक्त मार्ग प्रयोग हुँदै आएको दाबी गरेका छन् ।

भारतले नेपालले उठाएको विषयलाई एकतर्फी दाबीको रूपमा व्याख्या गरे पनि संवादमार्फत समाधान खोज्न तयार रहेको संकेत दिएको छ । यद्यपि व्यवहारमा भने भारतले उक्त क्षेत्रमा आफ्नो प्रशासनिक तथा सुरक्षा उपस्थिति कायम राख्दै आएको छ ।

सुगौली सन्धि र महाकाली नदीको विवाद

नेपालको दाबीको मुख्य आधार १८१६ को सुगौली सन्धि हो । उक्त सन्धिअनुसार महाकाली नदी नेपालको पश्चिमी सीमा मानिएको छ । विवादको मुख्य विषय भने काली नदीको वास्तविक मुहान कहाँ हो भन्नेमा केन्द्रित छ ।

नेपालले लिम्पियाधुराबाट सुरु हुने नदीलाई काली नदीको मूल स्रोत मान्दै आएको छ । यदि लिम्पियाधुरा नै काली नदीको उद्गम मानिने हो भने कालापानी र लिपुलेकसहितको सम्पूर्ण भूभाग नेपालभित्र पर्छ ।

तर भारतले कालापानी नजिकको सानो खोला नै काली नदीको मूल स्रोत भएको दाबी गर्दै आएको छ । यही फरक व्याख्याका कारण सीमा विवाद जटिल बनेको हो ।

सीमा विज्ञहरूका अनुसार ब्रिटिसकालीन १८१९, १८२७ र १८५६ का नक्साहरूमा लिम्पियाधुरा क्षेत्र नेपालभित्र देखाइएको छ । कतिपय ऐतिहासिक दस्तावेज र राजस्व अभिलेखले पनि उक्त क्षेत्रमा नेपालकै प्रशासनिक उपस्थिति रहेको दाबी गर्छ ।

रणनीतिक रूपमा किन महत्वपूर्ण छ लिपुलेक ?

लिपुलेक क्षेत्र केवल सीमा विवादको विषय मात्र नभई, रणनीतिक रूपमा पनि अत्यन्त संवेदनशील छ । यो क्षेत्र नेपाल, भारत र चीनको त्रिदेशीय सीमासँग जोडिएको छ ।

भारतका लागि लिपुलेक चीनको तिब्बत क्षेत्रसम्म पुग्ने महत्वपूर्ण व्यापारिक तथा सामरिक मार्ग हो । यही मार्ग हुँदै भारतले कैलाश मानसरोवर यात्रा सञ्चालन गर्दै आएको छ । चीनसँगको व्यापार तथा सुरक्षा रणनीतिमा पनि यो क्षेत्र महत्वपूर्ण मानिन्छ ।

नेपालका लागि भने यो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएको विषय हो । त्यसैले नेपालले यसलाई राष्ट्रिय स्वाभिमानको प्रश्नका रूपमा उठाउँदै आएको छ ।

संवादबाट समाधान खोज्ने नेपालको प्रयास

नेपालले सीमा विवादलाई कूटनीतिक तथा राजनीतिक संवादमार्फत समाधान गर्नुपर्ने अडान राख्दै आएको छ । नेपाल-भारत संयुक्त सीमा कार्यदल र परराष्ट्र संयन्त्रमार्फत विगतमा पटक-पटक छलफल भए पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा विवाद अझै समाधान हुन सकेको छैन ।

विशेषज्ञहरूका अनुसार दुवै देशले ऐतिहासिक दस्तावेज, पुराना नक्सा, नदी विज्ञान र अन्तर्राष्ट्रिय सीमा सिद्धान्तका आधारमा समाधान खोज्नुपर्ने आवश्यकता छ ।

नेपाल सरकारले पुनः आफ्नो दाबी दोहो¥याएसँगै लिपुलेक-लिम्पियाधुरा विवाद फेरि राजनीतिक तथा कूटनीतिक बहसको केन्द्रमा आएको छ ।

वाग्लेको नेतृत्वमा रास्वपा सांसदहरुको प्रशिक्षण सुरु (तस्वीरहरू)

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनप्रतिनिधिहरूलाई आजदेखि दिने दोस्रो चरणको प्रशिक्षण सुरु गरेको छ । शनिबार ललितपुरको स्टाफ कलेज जाउलाखेलमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

रास्वपाका अनुसार बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो प्रशिक्षण आयोजना गरिएको हो । कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने छ ।

यसअघि चैत ३ र ४ गते ललितपुरको ग्वार्कोमा जनप्रतिनिधिहरूका लागि आवासीय प्रशिक्षण कार्यक्रम गरिएको थियो । त्यतिबेला विषय विज्ञ र पार्टीका शीर्ष नेताहरूले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

एआई कम्पनी : डर देखाउँदै, प्रविधि बेच्दै

काठमाडौं। जसले प्रविधि बनाउँछन् उनीहरू नै त्यसको सम्भावित खतराबाट डराइरहेका छन् । तर रोचक कुरा के छ भने उनीहरू यही प्रविधिलाई बजारमा विस्तार पनि गरिरहेका छन् । यही विरोधाभास अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उद्योगको मुख्य बहस बनेको छ ।

हालै एआई कम्पनी एन्थ्रोपिकले आफ्नो नयाँ मोडल ‘क्लाउड माइथोस’ लाई लिएर यस्तै चेतावनी दिएको छ । कम्पनीका अनुसार यो मोडल साइबर सुरक्षाका कमजोरी पत्ता लगाउने क्षमतामा मानव विशेषज्ञभन्दा पनि अगाडि छ । तर यस्तो प्रविधि गलत व्यक्तिको हातमा परेमा अर्थतन्त्र, जनसुरक्षा र राष्ट्रिय सुरक्षामा गम्भीर असर पर्न सक्ने दाबी कम्पनीले गरेको छ ।

कम्पनीले अप्रिलमा प्रकाशित ब्लगमा लेखेको थियो, ‘अर्थतन्त्र, जनसुरक्षा र राष्ट्रिय सुरक्षामा यसको प्रभाव गम्भीर हुन सक्छ ।’ यही कारण देखाउँदै माइथोसलाई सीमित पहुँचमा राखिएको बताइएको छ ।

तर यहींबाट मूल प्रश्न सुरु हुन्छयदि प्रविधि यति खतरनाक छ भने त्यसलाई विकास, प्रदर्शन र व्यापार किन गरिँदैछ ?

ओपनएआई, एन्थ्रोपिकजस्ता कम्पनीहरूले आफ्ना एआई मोडलहरूलाई कहिले ‘अत्यन्त शक्तिशाली’, कहिले ‘सम्भावित रूपमा खतरनाक’ भन्दै प्रस्तुत गर्ने गरेका छन् । आलोचकहरूका अनुसार यो केवल सुरक्षा चेतावनी मात्र होइन, बजार विस्तार र प्रभाव जमाउने रणनीति पनि हो ।

एडिनबर्ग विश्वविद्यालयकी एआई नैतिकता विशेषज्ञ श्यानन भालोर का अनुसार यस्तो भाष्यले मानिसहरूमा डर र निर्भरता दुवै सिर्जना गर्छ । उनका अनुसार जब प्रविधिलाई ‘अलौकिक खतरा’ जस्तो देखाइन्छ तब जनताले नियन्त्रणको जिम्मेवारी पनि कम्पनीमै छोड्न बाध्य हुन्छन् ।

उनी भन्छिन्, ‘यस्तो चित्रणले मानिसहरूलाई शक्तिहीन बनाउँछ। र लाग्छ समाधान केवल तिनै कम्पनी हुन् जसले यो प्रविधि बनाएका छन् ।’

सन् २०१९ मा ओपनएआई ले ‘जीपीटी-टु’ लाई पनि प्रारम्भमा ‘अत्यन्त खतरनाक’ भन्दै सार्वजनिक गर्न ढिलाइ गरेको थियो ।

त्यसपछि केही महिनामै उक्त मोडल सार्वजनिक गरियो । पछि ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले त्यो प्रारम्भिक डर ‘अतिरञ्जित’ भएको स्वीकार गरेका थिए ।

अल्टम्यान स्वयंले वर्षौँदेखि एआईलाई लिएर मिश्रित सन्देश दिँदै आएका छन्। एकातिर सम्भावित विनाशको चेतावनी, अर्कोतिर अत्यधिक प्रगतिको आशा देखाउने गरेका छन् ।

सन् २०१५ मै उनले भनेका थिए, ‘एआईले सम्भवतः संसारको अन्त्य गराउन सक्छ ।’ तर पछिल्ला वर्षहरूमा उनी र अन्य प्रविधि नेताहरूले एआईलाई ‘महामारी र आणविक युद्धसरह जोखिम’ मान्नुपर्ने संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका थिए ।  

विशेषज्ञहरूका अनुसार ‘महाविनाश’ को बहसले एआईका तत्काल देखिएका समस्याहरू ओझेलमा पारिरहेको छ ।

आज एआईसँग जोडिएका मुख्य चुनौतीहरूमा गलत सूचना, डिपफेक, रोजगारी संकट, मानसिक स्वास्थ्यमा असर, ऊर्जा खपत र वातावरणीय प्रभाव समावेश छन् । 

एमिली एम. बेन्डर का अनुसार एआई कम्पनीहरूले भविष्यको काल्पनिक विनाशलाई बढी प्राथमिकता दिँदा वर्तमानको वास्तविक क्षति छायाँमा परिरहेको छ ।

उनको भनाइमा, ‘उनीहरू मानिसहरूलाई भविष्यको डर देखाएर अहिलेका वास्तविक समस्याबाट ध्यान हटाइरहेका छन् ।’

एन्थ्रोपिकले माइथोसले हजारौँ गम्भीर साइबर कमजोरी पत्ता लगाएको दाबी गरेको छ । कम्पनीले ४० भन्दा बढी संस्थासँग सहकार्य भइरहेको पनि जनाएको छ ।

तर एआई नाउ इन्स्टिच्युटकी प्रमुख वैज्ञानिक हेइडी क्लाफ भने यी दाबीप्रति शंकालु छन् ।

उनका अनुसार कम्पनीले ‘फल्स पोजिटिभ’ (गलत चेतावनी) को तथ्यांक सार्वजनिक नगरेको कारण दाबीको विश्वसनीयता कमजोर हुन्छ । साइबर सुरक्षा क्षेत्रमा यो अत्यन्त महत्वपूर्ण मापन मानिन्छ ।

उनले भनिन्, ‘माइथोस सर्वशक्तिमान छ भन्ने भाष्यमा धेरै कमजोरी छन् ।’

विश्लेषकहरूका अनुसार एआई कम्पनीहरूले आफूलाई एकैसाथ ‘राक्षस’ र ‘उद्धारकर्ता’ दुवै रूपमा प्रस्तुत गरिरहेका छन् ।

एकातिर उनीहरू एआईले सभ्यता नै संकटमा पार्न सक्छ भन्छन् अर्कोतिर यही प्रविधिले जलवायु संकट समाधान गर्ने, वैज्ञानिक अनुसन्धान तीव्र बनाउने र मानव जीवन सुधार्ने दाबी पनि गर्छन् ।

यस दोहोरो भाष्यले जनतामा निर्भरता बढाउने काम गर्छ भन्ने आलोचकहरूको तर्क छ । जब प्रविधि ‘मानव नियन्त्रणभन्दा बाहिरको शक्ति’ जस्तो देखाइन्छ तब त्यसलाई नियन्त्रण गर्ने जिम्मा पनि कम्पनीमै केन्द्रित हुने सम्भावना बढ्छ ।

‘१२ गाउँ २’को सुटिङ सुरु, समीर भट्टसँग काफियाको डेब्यू

काठमाडौं। डेब्यू फिल्म ‘१२ गाउँ’बाट चर्चामा आएका नायक समीर भट्टले त्यसैको सिक्वेल ‘१२ गाउँ २’को सुटिङ सुरु गरेका छन् । नायक बिराज भट्टका छोरा समीरसँग यस फिल्ममा डेब्यू नायिका काफिया शाहीले स्क्रिन सेयर गर्नेछिन् ।

फिल्म वितरण क्षेत्रमा सक्रिय गोबिन्द शाहीकी छोरी काफियाको यो पहिलो फिल्म हो । बिराज भट्ट र गोबिन्द शाहीबीच लामो समयदेखि सहकार्य र निकट सम्बन्ध रहँदै आएको छ । त्यसकै प्रभावस्वरूप काफियाले ‘१२ गाउँ २’मार्फत नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेको चर्चा छ ।

बिराज भट्टकै निर्देशनमा बन्न लागेको यो एक्सन जनराको फिल्मको छायांकन काठमाडौं, सिन्धुपाल्चोक र चितवनमा गरिने निर्माण पक्षले जनाएको छ । फिल्ममा बिराज भट्ट, समीर भट्ट, काफिया शाहीसँगै अनुपबिक्रम शाही र वर्षा इटानीको पनि मुख्य भूमिका रहनेछ ।

फिल्मलाई आगामी दसैँको अवसर पारेर प्रदर्शन गर्ने तयारी गरिएको छ । सन्तोष सरकारले फिल्मको कथा तथा पटकथा लेखेका हुन् ।

‘१२ गाउँ’बाट समीर भट्टले एक्सन हिरोको रूपमा दर्शकमाझ राम्रो चर्चा कमाएका थिए । त्यसैले ‘१२ गाउँ २’प्रति पनि दर्शकको चासो बढिरहेको देखिन्छ । नयाँ अनुहार काफिया शाहीको प्रवेशले फिल्मलाई थप चर्चा दिलाउने अपेक्षा गरिएको छ ।

‘धरपकडको हल्ला निराधार’ भन्दै व्यवसायीलाई नत्रसिन अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी-व्यवसायीलाई धरपकड गरिँदै छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले व्यवसायीलाई त्रसित बनाउने कुनै योजना नरहेको स्पष्ट पारेका हुन् ।

उनले निजी क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख साझेदारको रूपमा हेर्ने सरकारको धारणा दोहोर्‍याउँदै उद्योगी-व्यवसायीलाई ढुक्क भएर लगानी र व्यवसाय विस्तार गर्न आग्रह गरे ।

अर्थमन्त्री वाग्लेले भने, ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन । तपाईँहरू हल्लाको पछि नपर्नुहोस्, तपाईँहरू हाम्रो विकासको साझेदार हो ।’

उनले सरकारको दीर्घकालीन लक्ष्य १०० बिलियन डलरको अर्थतन्त्र निर्माण गर्नु रहेको उल्लेख गर्दै त्यो लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका निर्णायक हुने बताए । उनका अनुसार आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र स्थायित्व आवश्यक छ ।

कार्यक्रममा बोल्दै उनले सरकारले अघि सारेका पाँच प्रमुख प्राथमिकताबारे पनि जानकारी दिए । उनका अनुसार पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान, तेस्रो आन्तरिक तथा बाह्य कनेक्टिभिटी विस्तार, चौथो सामाजिक क्षेत्रमा लगानी र पाँचौँ पर्यटन, संस्कृति तथा इतिहासमार्फत नेपालको ‘सफ्ट पावर’ विस्तार गर्नु रहेको छ ।

उनले अहिले मुलुक अर्थतन्त्रको ‘जहाज मोड्ने’ महत्वपूर्ण मोडमा रहेको टिप्पणी गर्दै त्यसका लागि केही समय धैर्य गर्न व्यवसायीहरूलाई आग्रह गरे । आगामी बजेटमार्फत सरकारले अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण कदम चाल्ने संकेत पनि उनले दिए ।

अर्थमन्त्री वाग्लेले भारतको आर्थिक रूपान्तरणको उदाहरण दिँदै नेपालले पनि राजनीतिक स्थायित्व, स्पष्ट नीति र इमानदार कार्यान्वयनमार्फत तीव्र आर्थिक विकास गर्न सक्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘सन् २०१४/१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रका केही सूचक नेपालकै अहिलेको अवस्थासँग मिल्दाजुल्दा थिए । तर पछिल्लो १२ वर्षमा भारतले ठूलो फड्को मारेको छ । हामी पनि अब त्यही दिशातर्फ अघि बढ्नुपर्ने बेला आएको छ ।’

अर्थमन्त्रीको भनाइलाई निजी क्षेत्रले चासोका साथ हेरेको छ । पछिल्लो समय बजारमा कर छली, राजस्व अनुसन्धान तथा वित्तीय अनुशासनका विषयमा सरकार कडा बन्न लागेको चर्चा चलिरहेका बेला वाग्लेले सार्वजनिक रूपमा व्यवसायीलाई आश्वस्त पार्ने प्रयास गरेका हुन् ।

बङ्गलादेशको अन्तर्राष्ट्रिय एक्स्पोमा नेपालको स्वास्थ्य सेवा प्रदर्शनी

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल ले बङ्गलादेशमा आयोजित ‘इन्टरनेसनल हेल्थ टुरिज्म एण्ड सर्भिसेस एक्स्पो २०२६’ मा नेपालको स्वास्थ्य सेवाबारे प्रदर्शनी गरेको छ । यो नेपालबाहिर आयोजना गरिएको अन्तर्राष्ट्रिय मेडिकल टुरिज्म एक्स्पोमा नेपालको पहिलो सहभागिता समेत रहेको बताइएको छ ।

बङ्गलादेशको ढाकास्थित इन्टरनेसनल कन्भेन्सन सिटी मा बिहीबारदेखि सुरु भएको एक्स्पो आज शनिबारसम्म सञ्चालन हुनेछ । एक्स्पोमा एसिया तथा अन्य क्षेत्रका प्रमुख अस्पताल, स्वास्थ्य सेवा प्रदायक, वेलनेस सेन्टर, डायग्नोस्टिक संस्था तथा मेडिकल टुरिज्मसँग सम्बन्धित संस्थाहरू सहभागी भएका छन् ।

तीन दिने कार्यक्रममा चीन, इन्डोनेसिया, मलेसिया, भारत र श्रीलङ्कालगायत देशका स्वास्थ्य संस्थाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । यसले क्षेत्रीय स्तरमा चिकित्सा पर्यटन र अन्तर्राष्ट्रिय स्वास्थ्य सहकार्यको बढ्दो महत्त्व झल्काएको बताइएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमर ले एक्स्पोमा सहभागिता नेपाललाई दक्षिण एसियामा गुणस्तरीय र किफायती स्वास्थ्य सेवाको उदीयमान गन्तव्यका रूपमा स्थापित गर्ने महत्वपूर्ण अवसर भएको बताए । उनका अनुसार यसले तीव्र रूपमा विस्तार भइरहेको मेडिकल टुरिज्म क्षेत्रमा नेपालको उपस्थितिलाई अझ मजबुत बनाउनेछ ।

अस्पतालले बहुविषय विशेषज्ञता, बिरामी केन्द्रित सेवा, संक्रमण नियन्त्रण, क्लिनिकल गभर्नेन्स तथा प्रमाणमा आधारित उपचार पद्धतिमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रदान गर्दै आएको जनाएको छ । साथै अनुभवी विशेषज्ञ, छोटो प्रतीक्षा समय र तुलनात्मक रूपमा किफायती उपचार प्याकेजका कारण विदेशी बिरामी आकर्षित हुने विश्वास अस्पतालको छ ।

नेपाल मेडिसिटीको सहभागिताले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ अन्तर्राष्ट्रिय अवसर सिर्जना गर्ने र देशलाई चिकित्सा उपचार तथा वेलनेस पर्यटनको विश्वसनीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पाकिस्तानमा प्रतिलिटर ४१४ रुपैयाँ पुग्यो पेट्रोलको मूल्य

एजेन्सी। पाकिस्तानमा पेट्रोल र हाई-स्पीड डिजेलको मूल्य फेरि बढाइएको छ । पाकिस्तान सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १४.९२ पाकिस्तानी रुपैयाँ र हाई–स्पीड डिजेलको मूल्य १५ पाकिस्तानी रुपैयाँले वृद्धि गरेको हो ।

नयाँ मूल्य लागू भएपछि पाकिस्तानमा पेट्रोल प्रतिलिटर ४१४.७८ पाकिस्तानी रुपैयाँ पुगेको छ भने हाई–स्पीड डिजेलको मूल्य ४१४.५८ पाकिस्तानी रुपैयाँ कायम भएको छ ।

पेट्रोलियम डिभिजन ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य मे ९ देखि लागू गरिएको हो ।

गत मार्च महिनामा पेट्रोलको मूल्य प्रतिलिटर २५५ पाकिस्तानी रुपैयाँ रहेको थियो । त्यसयता सरकारले पाँच पटक मूल्यवृद्धि गरिसकेको छ । दुई महिनाको अवधिमा पेट्रोलको मूल्य ६० प्रतिशतभन्दा बढीले बढेपछि पाकिस्तानमा महँगी र जनजीवनमाथिको दबाब अझ बढ्ने अनुमान गरिएको छ ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि, मुद्रा अवमूल्यन तथा क्षेत्रीय तनावका कारण पाकिस्तानमा इन्धनको मूल्य लगातार उकालो लागिरहेको छ ।

सुकुम्बासी बस्ती ध्वस्त पारिएपछि सर्वोच्चकाे अन्तरिम आदेश – नभत्काउनू

काठमाडौं । प्रधानमन्त्री बालेनकाे निर्देशनमा डाेजर चलाएर सुकुम्बासी बस्ती ध्वस्त पारिएपछि सर्वोच्च अदालतले नभत्काउनू भन्दै अन्तरिम आदेश जारी गरेकाे छ ।

शुक्रबार काठमाडौंका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली नगर्न भन्दै न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

गोपाल रन पहलीसमेत ११ जनाले यही वैशाख ११ गते सुकुमवासी बस्ती खाली गर्न लागिएको विरूद्ध रिट निवेदन दर्ता गरेका थिए ।

काठमाडौंका नदी किनाराका सुकुमवासी बस्ती खाली गर्न जिल्ला प्रशासन कार्यालय र काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको विरूद्ध रिट निवेदन दायर भएको थियो ।

रिट निवेदनमा काठमाडौं उपत्यका तथा देशभरिका नदी किनार वा जुनसुकै स्थानका सुकुम्वासी बस्तीका भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था नगरी कुनै पनि परिवारलाई हटाउने, उठाउने, विस्थापित गर्ने वा कुनै पनि किसिमको जबरजस्ती कारबाही नगर्नू, नगराउनु भनी माग गरिएको थियो ।

रुबीको साथ बालेनले पाउँदा हर्क असन्तुष्ट, ज्ञानेन्द्र शाहीको हर्कलाई तिखो व्यंग्य- खाउँ भने कान्छा बाउको अनुहार !

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुख रुबिकुमारी ठाकुरले प्रधानन्यायाधीश सिफारिसमा प्रधानमन्त्री बालेनलाई समर्थन गरेको विषयमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई तीखो व्यङ्ग्य गरेका छन् ।

आफ्नै दलबाट उपसभामुख बनेकी ठाकुरले वरिष्ठता मिचेर प्रधानमन्त्री बालेनले प्रस्ताव गरेको प्रधानन्यायाधीशको नाममा समर्थन जनाएपछि साम्पाङले खेद र असन्तुष्टि पोखेको बेला शाहीले भनेका छन्, ‘नखाउँ भने दिनभरिको शिकार, खाउ भने कान्छा बाउको अनुहार” भएछ उपसभामुख पद माननीय हर्क साम्पाङज्यूलाई ।’

बिहीबारको संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री बालेनले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई प्रधानन्यायाधीश प्रस्ताव नगरी चौथो वरियताका न्यायाधीश मनोजकुमार श्रेष्ठलाई प्रस्ताव गर्दा हर्कको दलबाट उपसभामुख भएकी रुबीले चुपचाप रहेर समर्थन गरेकी थिइन् ।

वरियता मिच्ने कार्य परम्परा, विधि र संविधानको मर्मविपरीतको भनेर प्रमुख विपक्षी नेता भीष्मराज आङ्देम्बे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललगायतले विरोध गर्दा उपसभामुख रुबीले समर्थन जनाएकी थिइन् । यसपछि अध्यक्ष साम्पाङले उपसभामुख रुबीको भूमिकालाई लिएर असन्तुष्टि जनाउँदा राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले साम्पाङ्लाई व्यङ्ग्य गरेका हुन् ।

यसअघि रास्वपा सभापति रवि लामिछानेले शाहीको दल राप्रपालाई उपसभामुख दिने बचन दिएका थिए । तर, उम्मेदवारी दर्ताको दिन भने प्रधानमन्त्री बालेन रास्वपामा हाबी हुँदा नयाँ दल भन्दै हर्कको दललाई उपसभामुख दिएका थिए ।

अन्ततः हर्कले रुबीलाई उपसभामुखको उम्मेदवार बनाए, रास्वपाको मतदानले उपसभामुख भए । अहिले बालेनलाई उनले गुन तिरे, हर्कलाई आक्रोशित बनाए । यस्तोमा राप्रपा संसदीय दलका नेता शाहीको व्यङ्ग्य प्रहार भएको हो ।

जिउँदो व्यक्तिको मृत्यु दर्ता बनाएको आरोपमा वडाध्यक्षसहित तीन जना जेल चलान

काठमाडौं । जिउँदो व्यक्तिको नाममा मृत्यु दर्ता प्रमाणपत्र बनाएको अभियोगमा नवलपरासी जिल्ला अदालत ले वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

सुस्ता गाउँपालिका-५ रामनगरका ६६ वर्षीय जमालुद्दिन मुसलमान जीवित हुँदाहुँदै उनको नाममा मृत्यु दर्ता प्रमाणपत्र जारी गरिएको प्रकरणमा अदालतले उक्त आदेश दिएको हो । उनीहरूमाथि ‘झुठा विवरण पेस गरी व्यक्तिगत घटना दर्ता गरे/गराएको’ कसुरमा मुद्दा दायर गरिएको छ ।

अदालतका सूचना अधिकारी तथा शाखा अधिकृत भेषराज खनाल का अनुसार पुर्पक्षका लागि थुनामा पठाइएकामा सुस्ता गाउँपालिका-५ का वडाध्यक्ष प्रभुनाथ अहिर, वडासचिव सञ्जयकुमार चौधरी र तारिख मिया रहेका छन् । उनीहरूले झुठा विवरणका आधारमा मृत्यु दर्ताको निवेदन दिने, सिफारिस गर्ने तथा प्रमाणपत्र जारी गर्ने कार्यमा संलग्न रहेको आरोप छ ।

उक्त घटनामा संलग्न ११ जनामध्ये इशानेसा मिया र छोटे खाँलाई ५०–५० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ भने अन्य ६ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । धरौटीमा छुटेका तथा फरार व्यक्तिहरू सर्जिमन मुचुल्काका साक्षी रहेको बताइएको छ ।

प्रहरी अनुसन्धानअनुसार पुर्पक्षका लागि थुनामा पठाइएका ३१ वर्षीय तारिख मियाका बाबु जमालुद्दिन अन्सारीको २०६० जेठ ३० गते मृत्यु भएको थियो । बाबुको नामसँग मिल्ने सोही क्षेत्रका जीवित व्यक्ति जमालुद्दिन मुसलमानलाई मृत देखाएर तारिखले वडा कार्यालयमा निवेदन दिएका थिए ।

आफ्नै मृत्यु दर्ता भएको जानकारी पाएपछि जमालुद्दिन मुसलमानले प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि घटनाको वास्तविकता बाहिर आएको हो । अनुसन्धानबाट मुसलमान समुदायमा अन्सारी, मिया र मुसलमानलगायत थर प्रयोग गर्ने प्रचलनको फाइदा उठाउँदै तारिखले जीवित व्यक्तिको नागरिकता तथा आफ्नो जन्मदर्ताको प्रतिलिपि प्रयोग गरी २०८२ कात्तिक २३ गते मृत्यु दर्ताका लागि निवेदन दिएको खुलेको छ ।

वडा कार्यालयले सर्जिमनका आधारमा मंसिर महिनामा मृत्यु दर्ता प्रमाणपत्र जारी गरेको थियो । प्रहरीले मृतक बाबुको नागरिकता नभएको र आफ्नै नागरिकता बनाउनका लागि तारिखले यस्तो कार्य गरेको निष्कर्ष निकालेको छ।

स्मार्ट लाइसेन्स छाप्न १९५ रुपैयाँ खर्च लाग्ने

काठमाडौं । एउटा स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड छाप्न करिब १९५ रुपैयाँ १७ पैसा खर्च लाग्ने भएको छ । यही दरअनुसार सरकारले असार मसान्तसम्म १७ लाख स्मार्ट लाइसेन्स कार्ड छाप्न करिब ३३ करोड १८ लाख रुपैयाँ खर्च गर्ने तयारी गरेको छ ।

यातायात व्यवस्था विभाग सँग भएको सम्झौताअनुसार सुरक्षण मुद्रण केन्द्र ले स्मार्ट लाइसेन्स छपाइको दोस्रो चरण सुरु गरिसकेको जनाएको छ । यस चरणमा क्यूआर कोडसहितका आधुनिक स्मार्ट लाइसेन्स कार्ड छापिने व्यवस्था गरिएको छ ।

अधिकारीहरूका अनुसार दोस्रो चरणअन्तर्गत हालसम्म २२ हजारभन्दा बढी लाइसेन्स कार्ड छापिसकिएको छ । विभागले दैनिक सेवा, अत्यावश्यक आवेदन तथा लामो समयदेखि प्रतिक्षामा रहेका सेवाग्राहीलाई प्राथमिकतामा राखेर वितरण प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

विगत केही वर्षदेखि लाइसेन्स कार्ड छपाइमा ढिलाइ हुँदा सेवाग्राहीले लामो समयसम्म रसिदकै भरमा सवारी चलाउनुपर्ने अवस्था सिर्जना भएको थियो । यही समस्या समाधान गर्न सरकारले ठूलो संख्यामा स्मार्ट लाइसेन्स छपाइ प्रक्रिया तीव्र बनाएको अधिकारीहरूको भनाइ छ ।

नयाँ स्मार्ट लाइसेन्समा क्यूआर कोड, डिजिटल विवरण तथा सुरक्षाका अतिरिक्त प्रविधि प्रयोग गरिएकाले नक्कली कार्ड निर्माण रोक्न र विवरण प्रमाणीकरण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले बैंकिङ कसुरसम्बन्धी मुद्दामा सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार प्रहरी वृत्त मालीगाउँ, काठमाडौंमा कार्यरत राउतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता गराइदिने भन्दै सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पाइएको हो ।

आयोगको टोलीले केही दिनअघि राउतलाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानपछि उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद सजाय र जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले सार्वजनिक पदमा बसेर सेवाग्राहीसँग गैरकानुनी लाभ लिनु गम्भीर भ्रष्टाचारजन्य कार्य भएको उल्लेख गर्दै यस्ता गतिविधिविरुद्ध कडा कारबाही जारी रहने जनाएको छ ।