`

गृहमन्त्री सुधनले पत्रकारहरूलाई भने– कसैको चरित्रहत्या गरेर समाचार नलेख्नुहोस्

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको चरित्रहत्या गरेर समाचार नलेख्‍न पत्रकारहलाई आग्रह गरेका छन् ।

गृह मन्त्रालय पुगेर पदभार ग्रहण गरेपछि उनले आफूमाथि विगतमा विभिन्न आरोप लागेको प्रसङ्‍ग जोड्दै चरित्र हत्या गर्नेगरी समाचार नलेख्‍न आग्रह गरेका हुन् ।
कसैको व्यक्तिगत जीवन हुने र त्यसप्रति सम्मान गर्न पनि उनले सुझाए ।

‘न्यूजहरू बनाउँदाखेरी कसैको चरित्रहत्या गर्ने र टीआरपीका लागि लेख्ने नगर्नुहोला, म एकदमै मनैदेखि आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘हजुरहरूको हातमा धेरै कुरा रहेछ, मैले पहिले पनि भनेको थिएँ, अहिले पनि भन्छु, तपाईंहरूले रेस्पोन्सीबल भएर न्यूजहरू बनाइदिनुभयो भने हाम्रो देशको विकास हुन धेरी समय लाग्दैन । मलाई विभिन्‍न आरोप लाग्‍ने गरेको छ ।’

गृहमन्त्री सुधनलाई जेन–जी विद्रोहलगत्तै नेपाली नागरिक नभएको भन्दै केही सञ्‍चारमाध्यमले समाचार प्रकाशन गरेका थिए ।

उनको नागरिकता छानबिनको माग पनि उठेको थियो । जेन–जी विद्रोह सफल भएपछि ‘हाइज्याक’ गरेको आरोप लागेको थियो ।

यसबाहेक उनी इन्डो–अमेरिकन कित्तामा रहेको र निर्वासित तिब्बती धर्म गुरु दलाई लामासँग निकट रहेको आरोप लागेको थियो ।

यसप्रति संकेत गर्दै उनले पत्रकारहरूलाई कसैको चरित्रहत्या गर्नेगरी समाचार नलेख्न आग्रह गरेका हुन् ।

बालेनको अध्यक्षतामा मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए ।

उनीहरू सबैले सिंहदरबार पुगेर पदभार गरिसकेका छन् । सरकारले गर्ने केही महत्त्वपूर्ण कामबारे मन्त्रिपरिषद्बाट निर्णय लिइने बताइएको छ ।

धेरैजसो मन्त्रीहरूले पदभार ग्रहणमा पहिलो निर्णय लिएका छैनन् ।

शिक्षामन्त्री सस्मित पोखरेलको बाचा– पार्टीको सय बाचा पूरा गर्छौँ (भिडियो)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पदभार ग्रहण गर्दै मतादेशको सम्मान गर्ने बताएका छन् ।

उनले रास्वपाको वाचापत्रअनुसार अगाडि बढ्ने बताए ।

‘हामी के कुरामा संवेदनशील छौँ भने जुन किसिमको मत प्राप्त भएको छ मतदाताहरूबाट, त्यो मतप्रति हामी निकै संवेदनशील छौँ,’ उनले पदभार ग्रहण गर्दै भने, ‘हामीले एकदमै जिम्मेवारबोध गरेका छौँ । हाम्रो मन्त्रालयबाट पाँच वर्षमा पार्टीको सयवटा बाचाहरू पूरा गर्नुपर्नेछ ।’

२९ वर्षे पोखरेलले कानुन अध्ययन गरेका छन् । तर, उनले शिक्षा मन्त्रालयको जिम्मेवारी पाए ।

 

हराएको हेलिकप्टर दोलखामा भेटियो

काठमाडौं । शुक्रबार मध्याह्नपछि दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। क्याप्टेन सुरज थापाको कमान्डमा रहेको यो हेलिकप्टर लाङटाङको दक्षिण-पूर्वमा पर्ने लाप्चा क्षेत्रमा पुगेपछि सम्पर्क टुटेको बताइएको छ।

‘९-एन-एएनओ’ दर्ता नम्बरको उक्त हेलिकप्टरमा चार यात्रु सवार रहेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए। तर मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेका अनुसार पाइलटसहित पाँच जना हेलिकप्टरमा थिए।

त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार लगातारको खराब मौसमका कारण हेलिकप्टरले लाप्चा क्षेत्रकै कुनै स्थानमा आकस्मिक अवतरण गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ, तर यो जानकारी पुष्टि हुन बाँकी छ।

दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले हालसम्म हेलिकप्टरको ठेगाना खुलेको नसकेको बताए। उनका अनुसार घटनास्थल वरपरको क्षेत्रमा भइरहेको अविरल वर्षाले खोज तथा उद्धार टोलीलाई हेलिकप्टरको लोकेशन पत्ता लगाउन कठिनाइ भएको छ।

चुनाव गरेर बिदा भइन् चुनावी सरकारकी प्रधानमन्त्री कार्की

काठमाडौं । चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्की शुक्रबारदेखि औपचारिक रूपमा पदबाट बिदा भएकी छन् ।

उनी २७ भदौमा चुनाव गर्नेरी प्रधानमन्त्री नियुक्त भएकी थिइन् । राष्ट्रपतिको अवशिष्ट अधिकारअन्तर्गत प्रधानमन्त्री नियुक्त उनले यही २१ फागुनमा निर्वाचन गर्न सफल भइन् । उनको सरकारले गरेको निर्वाचनबाट नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ वरिष्ठ नेता भएको दल रास्वपाले दुई तिहाई नजिकको बहुमत प्राप्त गर्‍यो ।

शान्तिपूर्ण निर्वाचन गर्न सफल भएकी कार्कीकै पालामा सुशासन मार्गचित्र तयार भएको छ । जेन–जी विद्रोहमा भएको घटनाको जाँचबुझ आयोग गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन ग्रहण गरिन् तर सार्वजनिक गरिनन् ।

तर, मिडियाबाट प्रतिवेदन सार्वजनिक भयो, जुन पक्षपातपूूर्ण भएको भन्दै कांग्रेस, एमाले, बार एसोसिएसन, संविधानका जानकारहरू, पत्रकार महासंघलगायत बहुपक्षीय निकायहरूले गम्भीर असहमति प्रकट गरेका छन् ।

यसबीच कार्कीले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय हालै गरेकी थिइन् । तर, सार्वजनिक नगरी उनको बिदाइ भएको छ । उनी शुक्रबार बालेनले प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्दा सँगै देखिइन् ।

 

 

गृहमन्त्रीको पहिलो निर्णय- एकद्वार प्रणालीबाट काम गर्ने

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएसँगै सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् ।

साथै, उनले आफ्नो कार्यकालको पहिलो निर्णयबारे पनि जानकारी गराएका छन् । उनले सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय लिएका छन् ।

सो क्रममा उनले भीआईपी लावालस्कर लगाएर जनतालाई दु:ख दिने काम गर्न नहुने बताए ।

‘कम बोल्ने मान्छे हुँ । एक्सनमा जान्छु । जेनजीको माग अनुसार हामी आएको हो । सुशासनविरुद्धका कुनै काम हुन सक्दैन,’ पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले भने ।

मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । मुस्ताङ एयरको कलसाइन नाइन-एन-एएनओ रहेको एक हेलिकप्टर आज दोलखा क्षेत्रबाट सम्पर्कविहीन भएको छ। उक्त हेलिकप्टर बिहान काठमाडौंबाट दोलखातर्फ उडेको थियो।

क्याप्टेन सुरज थापासहित पाँच जना हेलिकप्टरमा रहेको र उनीहरू मध्याह्न १२:४५ बजेदेखि सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पुष्टि गरे।

दोलखाका डीएसपी मनोज लामाका अनुसार हेलिकप्टर बिगु गाउँपालिका-१ लुम्नाङबाट उडेको र त्यसपछि लाप्त्चेतर्फ गएको देखिन्छ।


‘लाप्त्चेमा अवतरण भयो कि भएन भन्ने विषयमा बुझ्दैछौं। प्रहरी कार्यालय रहेको स्थानबाट त्यहाँ पुग्न ६-७ घण्टा लाग्छ, अहिले मौसम पनि खराब छ,’ डीएसपी लामाले बताए।

सम्पर्कविहीन हेलिकप्टरको खोजी कार्य मौसमका कारण प्रभावित भइरहेको जनाइएको छ।

४ बजे मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

अपराह्न ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री शाहले आजै प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गरेका थिए । 

उनले आफूले पद तथा गोपनीयताको शपथ लिएपछि १५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।

बालेन प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्न सिंहदरबार जाँदै गर्दाका तस्बिरहरू

काठमाडौं । प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै बालेन्द्र शाह ‘बालेन’ पदभार ग्रहण गर्न सिंहदरबार पुगेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुुग्दा उनी पूरै कालो पहिरनमा देखिए । उनले पदभार ग्रहण गरिसकेका छन् ।

र्‍यापर, स्ट्रक्चरल इन्जिनियरदेखि काठमाडौंका पूर्वमेयर भइसकेका उनले गत माघको ४ गते मेयरबाट राजीनामा दिएर संसदीय राजनीतिमा प्रवेश गरेका हुन् ।

गत २१ फागुनमा झापा–५ बाट निर्वाचित उनी आजै संविधानको धारा ७६ को उपधारा (१)अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।

हेर्नुहोस्, बालेन पदभार ग्रहण गर्न जाँदाका तस्बिरहरू

यस्तो देखियो नवनियुक्त प्रधानमन्त्री बालेनले शपथ ग्रहण गर्दाको क्षण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार राष्ट्रपति पौडेलले शीतलनिवासमा ४३औँ प्रधानमन्त्रीका रूपमा बालेनलाई शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहणको बेला विशिष्ट अथितिहरूसमेत सहभागी थिए ।

हेर्नुहोस्, शपथ ग्रहण समारोहका तस्बिरहरू

 

 

 

 

अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएपछि उनले आज अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हाले।

पदभार ग्रहणपछि अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का प्रमुख सिफारिसहरू कार्यान्वयन गर्ने दृढता व्यक्त गरे। आयोगको सुझावअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा १५ वटा ऐन खारेज वा संशोधन प्रक्रिया त्वरित रूपमा अघि बढाउन मन्त्रालयले निर्णय गरिसकेको उनले जानकारी दिए।

वाग्लेले चैत ११, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ पाँच दिनभित्र तयार पार्ने प्रतिवद्धता व्यक्त गर्दै सरकारको निर्वाचन वाचापत्रलाई १०० दिने, अर्धवार्षिक तथा वार्षिक कार्ययोजनामार्फत व्यवस्थित रूपमा कार्यान्वयन गरिने बताए। उनका अनुसार निजी क्षेत्रको सुरक्षा तथा प्रवर्द्धन, ठूला विकास आयोजनाहरूको सहजीकरण र प्रक्रियागत झन्झट हटाउन नयाँ विधेयक निर्माण र पुराना कानुन संशोधन प्राथमिकतामा रहनेछ।
“अब ठूला आयोजना छिटो अघि बढ्ने वातावरण बनाइनेछ,” उनले भने।

अर्थमन्त्री वाग्लेले आर्थिक समस्यालाई खण्ड–खण्डमा नभई समग्र दृष्टिकोणबाट समाधान गर्ने नीति अवलम्बन गरिने बताए। तजबिजी अधिकार हटाएर प्रणालीगत सुधार लागू गरिने उनले उल्लेख गरे। सार्वजनिक खर्च पुनरावलोकन आयोगको सिफारिस कार्यान्वयन, आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र रूपान्तरणकारी बजेट निर्माणलाई पनि प्राथमिकता दिइने उनले बताए।

विद्युतीय प्रशासन प्रणालीलाई प्रवर्द्धन गर्न अर्थ मन्त्रालयबाटै ‘पेपरलेस’ र ‘क्यासलेस’ अभ्यास सुरु गरिएको उनको भनाइ थियो। साथै, मध्यपूर्वमा देखिएको अंतर्राष्ट्रिय जटिल परिस्थितिको सूक्ष्म विश्लेषण गर्दै अन्तर निकाय समन्वयमार्फत त्यसका प्रभावहरूको व्यवस्थापन गरिने उनले स्पष्ट गरे।

आयोगका सिफारिसअनुसार खारेज वा संशोधन प्रक्रियामा लैजान लागिएका प्रमुख कानुनमा आय टिकट दस्तुर ऐन (२०१९), कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन (२०३२), निजी वन जङ्गल राष्ट्रियकरण ऐन (२०१३), प्रशासकीय कार्यविधि नियमित ऐन (२०१३), क्षतिपूर्ति ऐन (२०१९), विर्ता उन्मुलन ऐन (२०१६), राजस्व चुहावट नियन्त्रण ऐन (२०५२), नेपाल एजेन्सी ऐन (२०१४), निकासी पैठारी नियन्त्रण ऐन (२०१३), सामाजिक व्यवहार सुधार ऐन (२०३३), नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन (२०१४) तथा वित्तीय मध्यस्थता संस्था ऐन (२०५५) लगायतका कानुन समावेश छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका वाग्लेले ऐतिहासिक जनादेश पाएको वर्तमान सरकारले निजी क्षेत्रमैत्री नीति तथा कानुनी आर्थिक सुधारको दीर्घकालीन मार्गचित्र अघि बढाउने बताए।

डा. वाग्ले आर्थिक नीतिनिर्माणमा अनुभवी तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित व्यक्तित्व मानिन्छन्। नवगठित मन्त्रिपरिषद्मा उनलाई दोस्रो वरिष्ठता दिनुले सरकारको आर्थिक एजेन्डा उच्च प्राथमिकतामा रहेको सन्देश दिन्छ। तनहुँ-१ बाट निर्वाचित वाग्लेले २०८२ को निर्वाचनमा ३८,०४० मत ल्याएर प्रभावशाली विजय हासिल गरेका थिए।

वि.सं. २०३१ जेठ १६ गते गोरखामा जन्मेका वाग्ले २०४६ सालको जनआन्दोलनदेखि नै लोकतान्त्रिक अभियानमा सक्रिय रहे। उनले वाग्लेले अर्थमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दाखेरि नेपाल सुस्त आर्थिक वृद्धि, राजस्व सङ्कलनमा गिरावट, विकास खर्चको न्यूनता र बढ्दो सार्वजनिक ऋणजस्ता चुनौतीको सामना गरिरहेको छ। यस्ता परिस्थितिमा उनको अन्तर्राष्ट्रिय अनुभव तथा नीतिगत दक्षताले सुधारोन्मुख मार्गचित्र प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
तर, राजनीतिक दबाब, प्रशासनिक जटिलता र संरचनागत कमजोरीबीच उनका सुधारात्मक योजना कत्तिको प्रभावकारी हुन्छन् भन्ने प्रश्न भने भविष्यकै समीक्षा विषय रहनेछ।

३६ वर्षमा प्रधानमन्त्री बनेका बालेन को हुन् ?

काठमाडौं । ३६ वर्षका बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री नियुक्त भएका छन् । राजनीतिमा आएको साढे तीन वर्षमै उनी प्रधानमन्त्री बनेका हुन् ।

२०४७ साल वैशाख १४ गते काठमाडौँको नरदेवीमा जन्मिएका उनी हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा-५ बाट निर्वाचित भए । उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरी प्रधानमन्त्री बन्ने श्रेष्ठता हासिल गरे ।

उनलाई ४३ औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो १२ः३४ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । उनी रास्वपाका वरिष्ठ नेता हुन् । बिहीबार मात्रै उनलाई रास्वपाले संसदीय दलको नेता चयन गरेको हो ।

शपथ ग्रहण समारोहमा परम्परागत धार्मिक विधिअनुसार सातवटा शंखबाट शंखनाद, १०८ बटुकबाट स्वस्ति वाचन तथा बौद्ध भिक्षुहरूद्वारा अष्टमंगल पाठ पनि गरिएको छ ।

नेपालको पहिलो प्रधानमन्त्रीका भीमसेन थापा हुन् । थापाले वि.सं. १८६३ देखि १८९४ सम्म ३१ वर्ष शासन गरेका थिए । उनले ३२ वर्षको उमेरमा मुख्तियारको रुपमा सपथ ग्रहण गरेका थिए । थापादेखि बालेनसम्म २१९ वर्षको इतिहासमा जंगबहादुर राणा सबैभन्दा कम उमेर ३१ वर्षमा प्रधानमन्त्री बनेका थिए । यद्यपि त्यतिबेला जननिर्वाचित प्रधानमन्त्री हुने व्यवस्था थिएन । 

पञ्चायतकालमा राजा महेन्द्रले तुलसी गिरीलाई ३३ वर्षकै उमेरमा प्रधानमन्त्री नियुक्त गरेका थिए । सबैभन्दा पाका उमेरका जननिर्वाचित प्रधानमन्त्री बन्नेमा एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारी र कांग्रेसका पूर्वसभापति सुशील कोइराला छन् । २०५१ सालमा अधिकारी प्रधानमन्त्री हुँदा ७४ वर्षका थिए । ०७० सालमा प्रधानमन्त्री बनेका कोइरालाको उमेर पनि ७४ वर्ष थियो । २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको उमेर त्यतिबेला ५४ वर्षको थियो ।

२०४६ सालको राजनीतिक परिवर्तनपछिको ३५ वर्षसम्म परम्परागत राजनीतिक दलका प्रायः एउटै व्यक्ति प्रधानमन्त्री बनिरहेको सन्दर्भमा यसपटक देशले पहिलो पटक नयाँ र युवा प्रधानमन्त्री पाएको छ । 

पिता डा. रामनारायण शाह र आमा ध्रुवदेवी शाहका कान्छा छोरा बालेनको निवास काठमाडौँको सिनामङ्गलस्थित गैरीगाउँमा पर्छ ।

यो निर्वाचनबाट उनको दल रास्वपाले निर्वाचनबाट अभूतपूर्व जनमत पायो ।

अर्थात् प्रत्यक्ष र समानुपातिकबाट गरी रास्वपाको १८२ सिट प्रतिनिधिसभामा छ । जबकि सरकार गठन गन १३८ सांसद भए पुग्छ । तर, दुई तिहाई नजिकको बहुमत प्राप्त गर्‍यो । 

देशमा प्रजातन्त्रको बहालीपछि संघीय लोकतान्त्रिक गणतन्त्रको दशक अवधिसम्ममा यति कलिला (३६ वर्षका) प्रधानमन्त्री देशले पाएको थिएन ।

फेरि राजनीतिमा आएको यति छोटो समयमा पनि प्रधानमन्त्री पनि कोही बनेका थिएनन् । जातीय र क्षेत्रीय कोणबाट भन्दा मधेसी समुदायबाट अहिलेसम्म कोही पनि नेता प्रधानमन्त्री बनेका थिएनन् । बरु आदिवासी जनजातिबाट मरिमानसिंह श्रेष्ठ एकपटक प्रधानमन्त्री भए ।

जेन–जी विद्रोहपछि गठित चुनावी सरकारमा सुशिला कार्की देशको पहिलो महिला प्रधानमन्त्री भइन् । बाँकी सबै प्रधानमन्त्रीहरू खस–आर्य समुदायका मात्रै हुन् । तर, यसपटक मधेसका नागरिक बालेन देशको सर्वोच्च कार्यकारी पदीय जिम्मेवारी सम्हाल्न पुग्दैछन् ।

उनी २०७९ को वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

त्यसबेला उनी स्वतन्त्र उम्मेदवार बनेर लडेका थिए । स्थापित दल कांग्रेस, एमालेलगायत दलका उम्मेदवारहरूविरुद्ध विजयी हासिल गर्दै उनी करिब साढे तीन वर्ष प्रमुख भए । गत माघको ४ गते राजीनामा दिएर संसदीय राजनीतिमा आएका हुन् ।

उसो त उनी काठमाडौंका प्रमुख हुनुअघि पनि राजनीतिक गतिविधिमा भने सरिक थिए । खासगरी उनी वैकल्पिक राजनीतिको धारमा देखिएका थिए ।

विगतमा राजनीतिक अस्थिरता छँदा विभिन्न दलले बन्द हट्ताल गरेको बेला प्रतिकारमा ‘नेपाल खुला छ’ भन्दै सडक प्रदर्शनमा आउँथे । देशमा सुशासन र भ्रष्टाचार नियन्त्रण मुद्दामा सडकमा आउँथे । र्‍याप गीतमार्फत उनी आफ्ना अभिव्यक्ति सबैभन्दा प्रभावकारी ढंगले व्यक्त गर्दथे । 

‘बालेन’ नामबाट उनले गाएका र्‍याप गीतहरूले भ्रष्टाचार, सामाजिक असमानता र राजनीतिक विकृतिमाथि तीखा टिप्पणी हुन्थे । तर, उनका र्‍यापमा महिलामाथि तुच्छता झल्किएको र अश्लिलतालाई प्रबद्र्धन गरिएको भन्दै कतिपय महिलाहरूले आलोचना गरेका थिए ।

उसो त काठमाडौंका प्रमुख छँदा पनि उनी पदीय मर्यादाविपरीतका अभिव्यक्ति दिन्थे । कहिले हिंसाप्रेरित त कहिले अराजकता झल्किने स्टाटस लेख्थे । सार्वजनिक आलोचना बढेपछि हटाउँथे ।

उनी ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकस्थित विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका नेता हुन् । त्यसैले उनी प्राविधिक पृष्ठभूमिका राजनीतिज्ञका रूपमा चिनिन्छन् ।

२०७२ सालको महाभूकम्पपछि उद्धार र राहत कार्यमा सक्रिय रहँदा उनले समाजसेवी छवि बनाएका थिए ।

उनको राष्ट्रिय छवि बनेको भने २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको प्रमुख निर्वाचित भएपछि नै हो । त्यसपछि उनी राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा पुगे ।

प्रमुखका रूपमा उनले सरसफाइ, शिक्षा, डिजिटल सेवा र सार्वजनिक संरचना व्यवस्थापनका क्षेत्रमा काम गरे । तर, ३५ प्रतिशतभन्दा बढी पुँजिगत अर्थात् विकास बजेट खर्च गर्न सकेनन् । तर, उनको लोकप्रियता कहिल्यै ओरालो लागेन ।

जेन–जी विद्रोहमा पर्दा पछाडिका सर्वोच्च कमान्डरको भूमिकामा देखिएका उनी त्यसपछि झनै लोकप्रिय बने ।

उनलाई विद्रोहपछि निम्तिएको राजनीतिक शून्यताको अवस्थामा प्रधानमन्त्रीमा जेन–जीहरूबाट अगाडि सारिएका थिए । तर, उनले त्यसबेला प्रधानमन्त्री बन्न चाहेनन् । पूर्वप्रधानन्यायाधीश सुुशीला कार्की बनिन् ।

उनी महागनर प्रमुख छँदा डिग्रीले भन्दा सीपले रोजगारी पाउने वातावरण बनाउने बताउँथे ।

उनी अहिले पनि राजनीतिभन्दा धेरै विकासका र भिजनका कुरा गर्छन् । रास्वपा प्रवेशपछि ५ माघमा जनकपुरको उद्घोष सभामा उनले सोधेका थिए, ‘म काम गर्ने मान्छे हुँ, म काम गरेर देखाउँछु । मलाई काम गर्न अवसर दिनुहुन्छ ?’

उनै बालेन आजदेखि काम गरेर देखाउने भूमिकामा आइपुगेका छन् । राजनीतिशास्त्री लोकराज बराल बालेन निकै चुनौतीपूर्ण अवस्थामा शासनसत्ता सम्हाल्न पुगेको बताउँछन् । जनतामा व्याप्त निराशा चिर्दै देशमा सुशासन र भ्रष्टाचार नियन्त्रण गर्नु उनका लागि सबैभन्दा चुनौतीपूर्ण रहेको बराल ठान्छन् ।

बालेनसँग संसदीय राजनीतिको अनभुव छैन । देशको शासनसत्ता सञ्चालनको त अनुभव हुने कुरै भएन । यस्तोमा उनले देशलाई समृद्धि र विकासको दिशामा लान्छन् ? कि संकटको मार्गमा ? चासोको विषय बनेको छ ।

नवनियुक्त प्रधानमन्त्री बालेनलाई पूर्वप्रधानमन्त्री ओलीको बधाई तथा शुभकामना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई बधाई तथा शुभकामना दिएका छन् ।

शुक्रबार उनले बालेन र उनका मन्त्रिपरिषदका सदस्यहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि ओलीले बधाई तथा शुुभकामना दिएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाहलगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।’

\गत २१ फागुनमा भएको निर्वाचनमा बालेन झापा–५ बाट निर्वाचित भएका हुन् । त्यसअघि बालेन काठमाडौंका मेयर थिए ।

मोदीले बालेनलाई बधाई दिँदै भने- ‘तपाईंसँग निकट भएर काम गर्न उत्सुक छु’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत शाहलाई नेपालका प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण बधाई दिएका हुन् ।

शाहको नियुक्तिले नेपाली जनताले राखेको विश्वासलाई प्रतिबिम्बित गर्ने उनले बताएका छन् ।

उनले भारत-नेपाल मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पुर्‍याउन  शाहसँग नजिकबाट काम गर्न पाउने अपेक्षा राखेको उल्लेख गरेका छन् ।

उर्जामन्त्री बनेका विराजभक्त को हुन् ?

काठमाडौं ।  उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व विराजभक्त श्रेष्ठले सम्हालेका छन्। बालेन्द्र साहको नेतृत्वमा आज बनेको मन्त्रिपरिषद्मा काठमाडौं-८ बाट निर्वाचित ४४ वर्षीय श्रेष्ठ ऊर्जामन्त्री बनेका हुन्।

श्रेष्ठले हालसालैको निर्वाचनमा सुमन सायमीलाई २१ हजार ३७५ मतान्तरले पराजित गरेका थिए। उनले २४ हजार ५९२ मत प्राप्त गर्दा सायमीले ३ हजार २१७ मत मात्र पाएका थिए। यसअघि २०७९ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट विजयी भएका थिए, र त्यतिबेला पनि प्रतिस्पर्धी सायमी नै थिए।

श्रेष्ठको राजनीतिक यात्रा विवेकशील साझा पार्टीबाट सुरु भएको हो। उनी बागमती प्रदेश सभा सदस्य हुँदै संघीय सरकारको युवा तथा खेलकुदमन्त्रीसम्म पुगेका थिए। ‘बिजनेस एड्मिनिस्ट्रेशन’ मा स्नातक उनले करियरको सुरुवात होटल-रेस्टुरेन्ट व्यवस्थापन र विभिन्न परियोजनामा जागिरबाट गरेका थिए।

२०७२ सालको भूकम्पपछि उनको सार्वजनिक छवि थप मजबुत बन्यो। उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले मुस्ताङदेखि बर्दीवाससम्म विपन्न समुदायका लागि राहत वितरण, स्वास्थ्य शिविर तथा विभिन्न सहयोग कार्यक्रम सञ्चालन गरेको थियो।

वातावरण संरक्षणका लागि उनले फोर्स नेपाल स्थापना गर्दै ‘वन ट्री-मेरो जिम्मेवारी’ जस्ता अभियान चलाए, जसले उनलाई आधारभूत तहका नागरिकसँग जोड्ने काम गर्‍यो। २०७४ को निर्वाचनअघि उनी उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानमा सक्रिय भएका थिए। प्रदेश सभा सदस्य बनेपछि उनको कार्यशैलीले व्यापक ध्यान खिच्यो।

श्रेष्ठ हरेक वर्ष आफ्नो कामको प्रतिवेदन सार्वजनिक गर्ने कम नेता मध्येको एक हुन्। बागमती प्रदेशमा नेपाली भाषा (नेवा: भाषा) र तामाङ भाषालाई सरकारी कामकाजका भाषा बनाउने कानुन पारित गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। संघीय सरकारले ल्याएको गुठी विधेयकका विरोधमा उनी सडक तथा सदन दुवै मोर्चामा सशक्त रूपमा उत्रिएका थिए।

विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ‘राजावादी’ दस्तावेज सार्वजनिक गरेपछि वैचारिक मतभेदका कारण श्रेष्ठ पार्टीबाट अलग भएका थिए। २०७९ को निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका उनले १०,११२ मतसहित विजय प्राप्त गरे, जहाँ हाम्रो नेपाली पार्टीका सुमन सायमी ६,१७९ मतसहित पछि परे।

संघीय संसदमा उनले सुशासन र खेलकुद क्षेत्रको सुधारका लागि निरन्तर सक्रियता देखाएका थिए। छोटो अवधिका लागि युवा तथा खेलकुदमन्त्री हुँदा खेल क्षेत्रको बेथिति हटाउन र खेलाडीको मनोबल उकास्न उनले उठाएका कदमले उनलाई ‘काम गर्न सक्ने सक्षम युवा’ नेताका रूपमा स्थापित गरेको छ।

यस्तो बन्यो बालेन टीम, सुधन तेस्रो वरियतामा

बालेन्द्र शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरूको नाम टुंगो लागेको छ।

कान्तिपुरले विभिन्न स्रोतसँग कुराकानी गरेर मन्त्रीमण्डलमा सहभागी हुनेहरूको सूची प्राप्त गरेको हो । स्रोतहरूमध्ये मन्त्रीमण्डलमा सहभागी हुनेहरू पनि छन् ।

रास्वपाका धेरै नेताको दाबी रहेको गृह मन्त्रालयको जिम्मेवारी भने सुधन गुरुङले पाउने भएका छन्। जेन–जी आन्दोलनका बेला चर्चामा आएका गुरुङ गोरखा–२ बाट निर्वाचित भएका थिए।

त्यस्तै रास्वपाका उपसभापति स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन्। उनी अर्थ मामिलाका जानकार हुन्। उनी तनहुँबाट दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

त्यस्तै शिशिर खनाल परराष्ट्रमन्त्री बन्ने भएका छन्। उनी रास्वपाको परराष्ट्र विभाग प्रमुख हुन्।

खडकराज पौडेल (गनेस) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने भएका छन्। साहित्यकार समेत रहेका उनी कास्कीबाट निर्वाचित भएका थिए। त्यस्तै, श्रममन्त्री महोत्तरीका दीपक साह बन्ने भएका छन्।

शिक्षा तथा प्रविधि मन्त्री भने काठमाडौं–५ बाट निर्वाचित सस्मित पोखरेल बन्ने टुंगो लागेको छ। सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी भने बिक्रम तिमिल्सिनाले लिनेछन्।

त्यस्तै प्रतिभा रावल सामान्य प्रशासन मन्त्री हुने भएकी छिन्। उनी पत्रकारिता पृष्ठभूमिकी हुन्। उनलाई रास्वपाले समानुपातिकबाट सांसद बनाएको थियो। रावल रास्वपाकी सहप्रवक्ता समेत हुन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठले पाउने भएका छन्। काठमाडौंबाट निर्वाचित भएका उनी यसअघि रास्वपा संसदीय दलको नेतासमेत थिए।

कृषि तथा सहकारी र वन मन्त्रालयको जिम्मेवारी भने गीता चौधरीलाई दिइने भएको छ। उनी रास्वपाको सामानुपातिक सूचीमा निर्वाचित भएकी उनलाई मन्त्रालय बाँडफाँटमा कृषि मन्त्रालयको जिम्मेवारी दिइएको हो। अधिवक्तासमेत रहेकी उनी गत फागुनको निर्वाचनभन्दा केही दिनअघि मात्र रास्वपामा प्रवेश गरेकी थिइन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी भने सोविता गौतमले पाउने भएकी छिन्। उनी कानुनको जानकार तथा अधिवक्तासमेत हुन्। २०७९ को चुनावमा काठमाडौं–२ बाट निर्वाचित गौतम यसपटक चितवन–३ पुगेर चुनाव लडेकी थिइन्। उनले भरतपुरकी पूर्वमेयर रेनु दाहाललाई भारी मतान्तरले पराजित गर्दै चुनाव जितेकी थिइन्।

सीता बादी महिला तथा बालबालिकामन्त्री बन्ने भएकी छिन्। भाैतिक पूर्वाधार तथा सहरी विकासमन्त्री भने सुनिल लम्साल बन्ने भएका छन्।

रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच आज बिहान भएकाे छलफलमा मन्त्रीहरुकाे नाम टु‌ंगाे लागेकाे हाे। रास्वपाका केही शीर्ष नेताहरुसँग राष्ट्रपति कार्यलयमा पठाइने अन्तिम नामको सूची रहेको छ ।

कानुनको विधार्थीबाट कानुनमन्त्री

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य सोविता गौतम कानुनमन्त्री बनेकी छन्।

चितवन क्षेत्र नं. ३ बाट चुनाव लडेर भरतपुर महानगरकी पूर्वमेयर रेनु दाहाललाई पराजित गर्दै उनले ५९ हजार २७७ मत प्राप्त गरेकी थिइन्।

रास्वपाले पहिलो पटक चुनावमा प्रतिस्पर्धा गर्दा गौतम काठमाडौं–२ बाट उम्मेदवार बनेकी थिइन्। पहिलो प्रयासमै विजयी हुँदै उनले त्यतिबेला पूर्वसभामुख ओनसरी घर्तीलाई हार मान्न बाध्य पारिन्।

राजनीतिमा प्रवेश गर्नु अघि गौतम सञ्चार क्षेत्रमा सक्रिय थिइन्। उनले नेपाल टेलिभिजनमा ‘स्वास्थ्य सरोकार’ जस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्थिन्। कानुनकी विद्यार्थी समेत रहेकी उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेशनल कलेजबाट बीए एलएलबी पूरा गरेकी छन्।

तीन वर्षे संसदीय कार्यकालमा उनले संसदको कानुन, न्याय तथा मानवअधिकार समितिकी सदस्यका रूपमा भूमिका निर्वाह गरेकी थिइन्।

बालेन सरकारमा पाँच महिला मन्त्री, पुुग्यो ३३ प्रतिशत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना मन्त्री महिला छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका मन्त्रीमा सीता वादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र कृषि मन्त्रीमा गीता चौधरी नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

सुधन मन्त्रिपरिषदको तेस्रो वरियतामा, कसको कुन वरियता ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारमा गृहमन्त्री सुधन गुरुङलाई तेस्रो वरीयता दिइएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेपछि गुरुङको स्थान राखिएको हो। प्रचलित व्यवस्थाअनुसार सामान्यतः पहिले मन्त्री भएर अनुभव प्राप्त गरेका व्यक्तिहरूलाई वरीयतामा माथि राख्ने प्रचलन भए पनि यस पटकको सूचीमा फरक देखिएको छ।

गृहमन्त्री गुरुङपछि वरीयता क्रम यसप्रकार छन्-
परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, उर्जामन्त्री विराजभक्त श्रेष्ठ, पर्यटनमन्त्री खडक पौडेल, शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता।

त्यसपछि सञ्चारमन्त्री विक्रम तिमल्सिना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कानूनमन्त्री सोविता गौतम, कृषि मन्त्री गीता चौधरी, श्रममन्त्री दिपक साह, तथा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीता वादीलाई वरीयतामा राखिएको छ।

बालेन्द्र शाह नेपालको ४३ औँ प्रधानमन्त्री

काठमाडौं। बालेन्द्र शाह नेपालको नयाँ प्रधानमन्त्री बनेका छन्। 

शुक्रबार शितलनिवासमा आयोजित पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमपछि उनले आजै प्रधानमन्त्रीको रुपमा कार्यभार ग्रहण गर्नेछन्। 

काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर  फागुन २१ को चुनावमा भाग लिएका शाह  पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् ।

उनी नेपालको ४३ औ प्रधानमन्त्री भएका हुन्। 

मन्त्री बन्न पाएनन् अमरेश

काठमाडौं । बालेन शाहको नेतृत्वमा बनेको मन्त्रिपरिषदमा अमरेश कुमार सिंहलाई समावेश नगर्ने निर्णय गरिएको छ।

प्रारम्भमा उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने चर्चा भए पनि अन्ततः उक्त मन्त्रालय बालेनले आफैंसँग राखेका छन्। यससँगै बालेनले रक्षा मन्त्रालयको जिम्मेवारी पनि आफैंले सम्हालेका छन्।

अमरेश कुमार सिंह भने नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

बादी समुदायकी सीता बनिन् महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

काठमाडौं । सीता बादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेकी छन् । उनी दलित तथा सीमान्तकृत समुदायकी हुन् ।

२०५२ सालमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, झुप्राखोलामा जन्मिएकी बादीले बाल्यकालदेखि नै गरिबी, छुवाछुत, सामाजिक अपमान र बहिष्कारको तीतो अनुभव भोगिन्। नदी किनार र अस्थायी बस्तीमा बसोबास गर्ने बादी समुदायका अधिकांश परिवारझैँ उनको परिवारसँग पनि आफ्नै जग्गा थिएन।

जीविकोपार्जनका लागि खोलाको बालुवा उत्खनन जस्ता कठिन श्रममा निर्भर रहँदै आएको उनको परिवार अहिले पनि त्यही अवस्थामै छ। सामाजिक विषयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्।

उनले आफ्नो अध्ययनसँगै लामो समय सामाजिक क्षेत्रमा काम गरेकी छन्। उनले दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षा र महिलालाई सीपमूलक तालिम प्रदान गर्दै आएकी छन्।

चुनिखेल क्षेत्रमा हस्तकला व्यवसाय सञ्चालन गरी आफू आर्थिक रूपमा सक्षम बन्नुका साथै अन्य महिलालाई रोजगारीको अवसर पनि सिर्जना गरेकी छन्। यही अनुभवले उनलाई परिवर्तनका लागि निर्णय गर्ने ठाउँमा पुर्‍याएको छ।

 

विराजभक्त श्रेष्ठले सम्हाल्ने छन् ऊर्जा मन्त्रालय

काठमाडौं । बालेन सरकारमा विराजभक्त श्रेष्ठ ऊर्जामन्त्री बनेका छन् । अघिल्लो संसदमा पनि उनी निर्वाचित सांसद थिए ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा उनी युवा तथा खेलकुदमन्त्री थिए ।

बालेन सरकारमा शिखिर खनाल बन्दै परराष्ट्रमन्त्री

काठमाडौं । बालेन सरकारमा शिशिर खनाल परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनी यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएका थिए । रास्वपाका विदेश विभाग प्रमुखसमेत रहेका उनी यसपटक परराष्ट्रमन्त्री बन्ने भएका हुन् ।

 गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी काठमाडौं–६ मा निर्वाचित भएका हुन्। तनहुँको चुँदीमा जन्मिएका खनालले सिद्धार्थ बनस्थली स्कुलबाट एसएलसी पास गरेका हुन्। उनको विद्यालय शिक्षा गोरखा, चितवन, नवलपुर, सर्लाही, मुस्ताङ लगायतका जिल्लामा भएका थियो।

त्रिचन्द्र कलेजबाट आईएस्सी गरेका खनाललेले  स्नातक र स्नातकोत्तर अमेरिकाबाट पूरा गरेका हुन्। अमेरिकास्थित कनेक्टिकट् राज्यस्थित युनिभर्सिटि अफ बिज्रपोर्टबाट उनले पोलिटिकल इकोनोमीमा स्नातक गरेका छन् भने युनिभर्सिटी अफ विन्सकन्सन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्।

खनालको समूहले सन् २०१२ मा ‘टिच फर नेपाल’को  स्थापन गरेको थियो। सह–संस्थापक भएर  शिक्षक उत्पादनमा लागि रहेका उनी नेपालका ७ जिल्लामा टिच फर नेपालले शिक्षकलाई पेसागत क्षमता अभिवृद्धि तालिम प्रदान गर्नुका साथै विभिन्न जिल्लामा स्वयंसेवक शिक्षक खटाउँदै आएको छ।

शिक्षक उत्पादन तथा सिकाइ परिवर्तनको नारा लिएर उनी नेपालका ४०–५० जिल्ला पुगिसकेका छन्।

यसअघि तुल्सीपुर उपमहानगरपालिकाकाको शिक्षा सल्लाहकारमा नियुक्त भएर तीन वर्ष काम गरेका खनालले कतारसहित३०-३५ देशको शिक्षा प्रणालीबारे अध्ययन गरेका छन्।

यो विषय उनले विभिन्न औपचारिक कार्यक्रममा  बताउँदै आएका छन्।

कार्गो कम्पनी ‘पिक एण्ड ड्रप’का सञ्चालक समेत रहेका खनाल परराष्ट्र र नीतिविज्ञका रुपमा चिनिन्छन्। रास्वपामा कुटनीतिक भेटघाटको व्यवस्थापन विदेश विभाग प्रमुखका रुपमा खनालले गर्दै आएका थिए।  राष्ट्रिय राजनीतिमा खनालले शालिन र सन्तुलित परिचय बनाएका छन्।

खनाल परराष्ट्र नीतिहरूको मुल स्रोत राष्ट्रिय स्वार्थ भएको मत राख्छन्। ‘राष्ट्रिय स्वार्थको संरक्षण नै हाम्रा सम्बन्धको आधार बन्नुपर्छ। हामीले खोजेको नेपाल बनाउनका लागि चाहिने सम्बन्धहरु परराष्ट्र नीतिका आधार हुन् हाम्रा लागि,’ उनी भन्छन्।

त्यस्तै उपसभापति डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । उनी दाेस्राेपटक प्रतिनिधिसभामा आइपुगेका हुन् ।

काङ्‍ग्रेसले याेजना आयाेगकाे उपाध्यक्ष नदाेहाेर्‍याएपछि उनी रुष्ट भएका थिए । त्यसपछि उनी दुई वर्ष अगाडि रास्वपा प्रवेश गरेका थिए । यसपटक भने बालेन सरकारमा अर्थमन्त्री बनेका हुन् ।

सहयाेद्धा प्रतिभा रावललाई रविले बनाए सामान्य प्रशासनमन्त्री

काठमाडौं । बालेन सरकारमा प्रतिभा रावल सामान्य प्रशासनमन्त्री बन्दै छिन् । उनी रास्वपाबाट समानुपातिक सांसद बनेकी हुन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐठपुरमा जन्मिएकी ३२ वर्षीया प्रतिभा रावल रास्वपाको सहप्रवक्ता हुन्।

उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य बनेकी हुन्।

एक दशकभन्दा बढी समय पत्रकारिता गरेर राजनीतिमा लागेकी रावल पहिलो संसद् यात्रामै मन्त्री बन्न सफल भएकी हुन्।

पत्रकार रहँदा ३२ वर्षीया रावलले साउथ एसिया चेक, रिपब्लिका र ग्यालेक्सी टीभीलगायत सञ्चारमाध्यममा काम गरेकी थिइन्।

ग्यालेक्सीमा काम गर्दागर्दै उनी हाल रास्वपाका सभापति लामिछानेसँग नजिक भएर काम गरिन्।

लामिछानेले २०७९ असार ७ मा रास्वपा गठन गरेपछि केही महिनामै केन्द्रीय समिति विस्तार हुँदा केन्द्रीय समितिमा पुगेकी थिइन्।

रास्वापाको संस्थापक सदस्य बनेर प्रत्यक्ष रूपमा रास्वपासँग जोडिएकी रावलले नयाँ पुस्ताको राजनीतिमा एक आशालाग्दो महिला नेतृत्वको छवि बनाएकी छन्।

रास्वपाको सहप्रवक्ताको जिम्मेवारी सम्हालेकी रावल सभापति रवि लामिछानेको विश्वास पात्रमध्येकी हुन्।

केही समयका लागि उनले कार्यवाहक प्रवक्ताको समेत जिम्मेवारी सम्हालेकी थिइन्।

रवि लामिछाने गृहमन्त्री हुँदा रावलले सचिवालयमा पनि काम गरेकी थिइन्।

प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले झण्डै दुईतिहाइ प्राप्त गरेपछि सभापति लामिछानले रावललाई यो सफलतामा पर्दा पछाडि बसेर लड्ने योद्धाका रूपमा चित्रण गरेका थिए।

 

सुधन गुरुङलाई गृह मन्त्रालयकाे जिम्मा

काठमाडौं । जेन-जी विद्राेहपछि एकाएक राष्ट्रिय राजनीतिमा देखा परेका सुदन गुरुङ गृहमन्त्री हुने बताएका छन् । उनी त्यसअघि सामाजिक क्षेत्रमा थिए ।

विद्राेहकाे बेला पानी बाँडेका उनले विद्राेहपछि आफूलाई जेन-जी विद्राेहकाे मुल कमान्डरकाे रुपमा प्रस्तुत गरे । कतिपयले उनलाई आन्दाेलन हाइज्याक गरेकाे आराेप लगाउँथे ।

उनै गुरुङ बालेन सरकारमा गृहमन्त्री बन्ने भएका हुन् । गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिवास पुर्ख्यौली थलो भएका गुरूङको जन्म २०४४ सालमा भएको हो ।

काठमाडौंको मल्टी इन्टरनेसनल कलेजमा ‘ए लेभल्स’ को पढाइ सकेपछि उनी विपद् सम्बन्धी तालिम लिएर सहजकर्ताको रूपमा काममा लागेका थिए ।

विभिन्न संघसंस्थासँग जोडिएर काम गर्ने अवसर पाउँदै गएपछि गुरुङ सामाजिक कार्यमा अग्रसर भएका थिए । २०७२ सालको भूकम्पपछि ‘हामी नेपाल’ नामक संस्था खोलेर उनी राहत तथा उद्दारमा खटिएका थिए ।

‘शिक्षा, स्वास्थ्य, विपद् र समाजमा देखिएको विसङ्गति विरुद्ध आवाज उठाउने उद्देश्यसहित म एक्लैले यो संस्था खोलेँ,’ गुरुङ भन्दै आएका छन्, ‘पछि अरूहरू पनि जोडिँदै जानुभयो ।’

घटनाक्रम अनुसारका विभिन्न आन्दोलनमा समेत उनी सहभागी बन्दै आए । बाढीपहिरोजस्ता विपद्मा मात्र नभई कोभिडको समयमा पनि उनी आबद्ध संस्थाले विभिन्न ठाउँमा सहयोग गर्‍यो । कोभिड अस्पताल निर्माणदेखि ड्रोनबाट राहत वितरणको काममा समेत उनको संस्था अग्रसर देखियो ।

सामाजिक कार्यमा व्यस्त रहँदै आएका उनलाई धेरैले चिन्दैनथे । सुदन गुरूङ नेपाली राजनीतिक वृत्तमै हलचल ल्याउने गरी गत २३ भदौमा भएको जेनजी आन्दोलनका कारण सर्वाधिक चर्चामा आए ।

तर, उनी जेनजी उमेर समूहका युवा भने होइनन् । २३ भदौमा युवाहरू काठमाडौंको माइतीघर मण्डलामा भेला हुँदा गुरुङले आफूलाई स्वयमसेवकको रूमा चिनाएका थिए ।

जेनजी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको खुट्टा ढोगे पछि उनको चर्चा थप चुलिएको थियो । गुरूङमाथि जेनजी आन्दोलन ‘हाईज्याक’ गरेको आरोप पनि लागेको थियो ।

गुरूङले आफ्नै समर्थनमा सरकार बनेको दुईपछि नै प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै मध्यरातमा बालुवाटारमा प्रदर्शन पनि गरेका थिए । कार्की नेतृत्वको अन्तरिम सरकार गठनदेखि मन्त्रिमण्डल विस्तारसम्म उनको बोलबाला चल्यो ।

उनले निर्वाचनको सम्मुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) र काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन) लाई एक ठाउँमा उभ्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी बालेनसँगै रास्वपामा मिसिए ।

सामाजिक अभियन्ताबाट राजनीतिमा फड्को मारेका उनले आसन्न निर्वाचनमा गोरखा–१ बाट टिकट समेत पाए । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

नर्स निशा मेहेता बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्यकर्मीसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएकी छन् ।

समानुपातिकतर्फबाट सांसद बनेकी नर्ससमेत रहेकी उनी सुनसरी इनरुवाकी हुन् ।

स्वास्थ्य सेवामा संक्रिय रहे पनि रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग उनी आबद्ध थिइन् ।

अघिल्लो निर्वाचनमा रास्वपाले सांसद् बनाउन उनलाई सामानुपातिक सूचीमा समेत राखेको थियो । यद्यपि, सांसद् भने बन्न सकिनन् ।

यसपटक उनी समानुपातिक सूचीबाट सांसद बनिनन् । मेहताले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि नेपाल फर्किएर उनले विराटनगरस्थित विराट टिचिङ एक वर्ष हस्पिटलमा काम गरिन् ।

सुनिल लम्साललाई भौतिक मन्त्रालयको जिम्मा

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा सुनिल लम्साल पनि मन्त्री बन्ने भएका छन् । रास्वपा महामन्त्री समेत रहेका उनलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

बालेन काठमाडौं महानगरपालिकाको मेयर पदमा रहँदा लम्साल पूर्वाधार एवं वातावरण विज्ञका रुपमा कार्यरत थिए ।

२१ फागुनको निर्वाचनमा उनी रूपन्देहीको क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । ३५ वर्षे लम्सालसँग पूर्वाधार, सहरी योजना र सुशासन क्षेत्रमा काम गरेको अनुभव छ ।

२०४७ असोजमा स्याङ्जाको बिरुवा गाउँपालिकामा जन्मेका लम्साल दुई दशकदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिका भलबारीका स्थायी बासिन्दा हुन्।

भलबारीकै बोर्डिङबाट एसएलसी पूरा गरेका उनले त्यहीको लुम्बिनी इन्जिनियरिङ कलेजमा पढे। एमाले निकट अनेरास्ववियूमा क्रियाशील रहेका उनी सन् २०११ मा त्यही कलेजमा स्ववियू सभापति निर्वाचित भए।

२९ वर्षे सस्मित पोखरेल शिक्षामन्त्री

काठमाडौं । रास्वपा सांसद सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् । २९ वर्षे सस्मितले कानुन अध्ययन गरेका छन् ।

काठमाडौं– ५ बाट उनी गत निर्वाचनबाट निर्वाचित भएका हुन् ।

उनले नेकपा एमालेका नेता ईश्वर पोखरेल र कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई पराजित गरेका थिए ।

डीपी अर्याल सभामुख बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डोलप्रसाद अर्याल (डीपी)लाई सभामुख बनाउने भएको छ ।

अर्याल अघिल्लो प्रतिनिधिसभामा पनि सदस्य थिए । त्यसबेला उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएका थिए ।

सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा पर्दा उनले पार्टी हाँकेका थिए ।

उनै अर्याललाई रास्वपाले सभामुख बनाउने भएको हो ।

सोविता गौतम कानुनमन्त्री

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमले पाएकी छिन् ।

प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्दैछन् । उनले मन्त्रीहरूको नाम टुंगो लगाएका छन् ।

जस अनुसार, कानुन मन्त्रालयको जिम्मेवारी गौतमलाई दिइएको हो ।

त्यस्तै, गृह मन्त्रालयमा सुधन गुरुङ, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल, ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ, उद्योगमा अमरेश कुमार सिंह, सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल निश्चित भएका छन् ।

हर्क साम्पाङको ‘एजेन्डा सेट’ : पहिलो संसद बैठकमै एमसीसी खारेजको प्रस्ताव

काठमाडौं ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठकमा उठाउने एजेण्डा टुङ्गो लगाएका छन् ।

बैठकमा अमेरिकी सरकारको सर्वाधिक विवादित र २०७८ को माघ १५ मा प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना खारेजीको प्रस्ताव गर्ने भएका हुन् ।

प्रतिनिधिसभा बैठक भने कहिले बस्ने भन्ने टुंगो छैन । तर, साम्पाङले निर्वाचन अभियानको क्रममा जोडतोडले उठाएको एमसीसी खारेजीको एजेन्डालाई प्रतिनिधिसभाको पहिलो बैठकमै प्रस्तावका रूपमा राख्ने बताएका हुन् ।

उनले बिहीबार सांसदका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी पहिलो सदनमै एमसीसी खारेजीको प्रस्ताव अघि सार्नेछौँ । त्यसपछि सरकार र सांसदको परीक्षा सुरु हुनेछ ।’

एमसीसी खारेजीको प्रस्तावलाई उनले को–को एमसीसी पक्षधर र विरोधी छुट्याउने कडीका रूपमा प्रयोग गर्न लागेको देखिन्छ । ‘हेरौँ देशको स्वाधीनताको पक्षमा को–को उभिँदा रहेछौँ (रहेछन्) ।’

साम्पाङले एमसीसीलाई देशको स्वाधीनतामा गम्भीर संकट पैदा गर्ने अमेरिकी परियोजनाको रूपमा अर्थ्याउने गरेका छन् ।

यो परियोजनाको ‘नेपाली एजेन्ट’का रूपमा बालेन सरकारमा ‘अर्थमन्त्री’ हुने लाइनमा रहेका डा. स्वर्णिम वाग्ले चिनिन्छन् ।

उनले पत्रकार टिकाराम यात्री र दिलभुुषण पाठकसँगको अन्तर्वार्तामा नेपालमा ठूूलो आर्थिक सहायताको परियोजना एमसीसी ल्याउन खुबै ‘लबिइङ’ गरेको प्रष्ट पारेका थिए ।

तर, गत निर्वाचनमा भने संसदबाट एमसीसी पास गर्ने कांग्रेस, माओवादीलगायत दलहरू अनि त्यो परियोजना पारित गरेको भनेर म एउटा नागरिकले भार बोकिदिनुपर्ने भन्दै उनी आक्रोशित सुनिएका थिए ।

अब भने श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले एमसीसी खारेजीको प्रस्ताव गर्ने भएका हुन् । तर, यो परियोजना कार्यान्वयनमा गइसकेको छ ।खारेज हुने सम्भावना न्यून छ ।

यद्यपि, यहीबेला अब बन्ने बालेन सरकारले अमेरिकी सरकारको अर्को परियोजना स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) पारित गर्न सक्ने संशय प्रकट भइरहेको छ ।

यो भने अमेरिकी सरकारको सुरक्षा रणनीतिसँग जोडिएको परियोजना हो । संसदबाट एसपीसी अनुमोदन भइसकेको छैन ।

विगतमा यो परियोजना अनुमोदन गर्न कांग्रेस, एमाले, माओवादीलगायत दलहरू हच्किएका थिए । भनिन्छ, त्यसपछि अअमेरिका निकै रुष्ट भयो ।

केही राजनीतिक विश्लेषकहरू स्थगन भएको सोही परियोजना अनुमोदन गराउन नयाँ शक्तिको रूपमा रास्वपाको उदय गराउन अमेरिकाको कहीँ न कहीँ हात रहेको दाबी गर्छन् ।

यस्तोमा हर्कले एसपीपी अनुमोदन गराउन सक्ने सम्भावित परिदृश्यलाई ख्याल गर्दै एमसीसी खारेजीको प्रस्ताव अघि सारेर सरकारलाई सुरुमै दबाब सिर्जना गर्ने देखिएको हो ।

बालेन्द्र शाह र्‍यापरदेखि प्रधानमन्त्रीसम्म : सत्ताको स्टेरिङ देश उकास्ने कि डुबाउने मार्गमा ?

काठमाडौं– ३६ वर्षका बालेन्द्र शाह ‘बालेन’ आज प्रधानमन्त्री बन्दैछन् । राजनीतिमा आएको साढे तीन वर्षमै उनी प्रधानमन्त्री बन्ने भएका हुन् ।

उनलाई ४०औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो १२ः३४ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदैछन् । उनी रास्वपाका वरिष्ठ नेता हुन् । बिहीबार मात्रै उनलाई रास्वपाले संसदीय दलको नेता चयन गरेको हो ।

शपथ ग्रहण समारोहमा परम्परागत धार्मिक विधिअनुसार सातवटा शंखबाट शंखनाद, १०८ बटुकबाट स्वस्ति वाचन तथा बौद्ध भिक्षुहरूद्वारा अष्टमंगल पाठ गरिने कार्यक्रम तय गरिएको छ ।

पार्टी महामन्त्री कविन्द्र बुर्लाटकोटीका अनुसार शपथपछि दिउँसो २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्ने कार्यतालिका छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बालेन झापा–५ बाट निर्वाचित भएका हुन् । फेरि उनको दल रास्वपाले निर्वाचनबाट अभूतपूर्व जनमत पायो ।

अर्थात् प्रत्यक्ष र समानुपातिकबाट गरी रास्वपाको १८२ सिट प्रतिनिधिसभामा छ । जबकि सरकार गठन गन १३८ सांसद भए पुग्छ । तर, दुई तिहाई नजिकको बहुमत प्राप्त गर्‍यो । संसदीय यो अंकगणितले देखाउँछ– बालेन शक्तिशाली प्रधानमन्त्री बन्दैछन् ।

देशमा प्रजातन्त्रको बहालीपछि संघीय लोकतान्त्रिक गणतन्त्रको दशक अवधिसम्ममा यति कलिला (३६ वर्षका) प्रधानमन्त्री देशले पाएको थिएन ।

फेरि राजनीतिमा आएको यति छोटो समयमा पनि प्रधानमन्त्री पनि कोही बनेका थिएनन् । जातीय कोणबाट भन्दा मधेसी समुदायबाट अहिलेसम्म कोही पनि नेता प्रधानमन्त्री बनेका थिएनन् । बरु आदिवासी जनजातिबाट मरिमानसिंह श्रेष्ठ एकपटक प्रधानमन्त्री भए ।

जेन–जी विद्रोहपछि गठित चुनावी सरकारमा महिला प्रधानमन्त्री भइन् । उनी हुन् – सुशीला कार्की । बाँकी सबै प्रधानमन्त्रीहरू खस–आर्य समुदायका मात्रै हुन् । तर, यसपटक मधेसका नागरिक बालेन देशको सर्वोच्च कार्यकारी पदीय जिम्मेवारी सम्हाल्न पुग्दैछन् ।

उनी २०७९ को वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

त्यसबेला उनी स्वतन्त्र उम्मेदवार बनेर लडेका थिए । स्थापित दल कांग्रेस, एमालेलगायत दलका उम्मेदवारहरूविरुद्ध विजयी हासिल गर्दै उनी करिब साढे तीन वर्ष प्रमुख भए । गत माघको ४ गते राजीनामा दिएर संसदीय राजनीतिमा आएका हुन् ।

उसो त उनी काठमाडौंका प्रमुख हुनुअघि पनि राजनीतिक गतिविधिमा भने सरिक थिए । खासगरी उनी वैकल्पिक राजनीतिको धारमा देखिएका थिए ।

विगतमा राजनीतिक अस्थिरता छँदा विभिन्न दलले बन्द हट्ताल गरेको बेला प्रतिकारमा ‘नेपाल खुला छ’ भन्दै सडक प्रदर्शनमा आउँथे । देशमा सुशासन र भ्रष्टाचार नियन्त्रण मुद्दामा सडकमा आउँथे ।

र्‍याप गीतमार्फत उनी आफ्ना अभिव्यक्ति सबैभन्दा प्रभावकारी ढंगले व्यक्त गर्दथे । त्यसैले त उनी नेपाली हिप–हप क्षेत्रमा मात्र परिचित थिए ।

‘बालेन’ नामबाट उनले गाएका र्‍याप गीतहरूले भ्रष्टाचार, सामाजिक असमानता र राजनीतिक विकृतिमाथि तीखा टिप्पणी हुन्थे । तर, उनका र्‍यापमा महिलामाथि तुच्छता झल्किएको र अश्लिलतालाई प्रबद्र्धन गरिएको भन्दै कतिपय महिलाहरूले आलोचना गरेका थिए ।

उसो त काठमाडौंका प्रमुख छँदा पनि उनी पदीय मर्यादाविपरीतका अभिव्यक्ति दिन्थे । कहिले हिंसाप्रेरित त कहिले अराजकता झल्किने स्टाटस लेख्थे । सार्वजनिक आलोचना बढेपछि हटाउँथे ।

उनी ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकस्थित विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका नेता हुन् । त्यसैले उनी प्राविधिक पृष्ठभूमिका राजनीतिज्ञका रूपमा चिनिन्छन् ।

२०७२ सालको महाभूकम्पपछि उद्धार र राहत कार्यमा सक्रिय रहँदा उनले समाजसेवी छवि बनाएका थिए ।

उनको राष्ट्रिय छवि बनेको भने २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको प्रमुख निर्वाचित भएपछि नै हो । त्यसपछि उनी राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा पुगे ।

प्रमुखका रूपमा उनले सरसफाइ, शिक्षा, डिजिटल सेवा र सार्वजनिक संरचना व्यवस्थापनका क्षेत्रमा काम गरे । तर, ३५ प्रतिशतभन्दा बढी पुँजिगत अर्थात् विकास बजेट खर्च गर्न सकेनन् । तर, उनको लोकप्रियता कहिल्यै ओरालो लागेन ।

जेन–जी विद्रोहमा पर्दा पछाडिका सर्वोच्च कमान्डरको भूमिकामा देखिएका उनी त्यसपछि झनै लोकप्रिय बने ।

उनलाई विद्रोहपछि निम्तिएको राजनीतिक शून्यताको अवस्थामा प्रधानमन्त्रीमा जेन–जीहरूबाट अगाडि सारिएका थिए । तर, उनले त्यसबेला प्रधानमन्त्री बन्न चाहेनन् । पूर्वप्रधानन्यायाधीश सुुशीला कार्की बनिन् ।

अब भने बालेन शक्तिशाली प्रधानमन्त्री बन्दैछन् । उनी महागनर प्रमुख छँदा डिग्रीले भन्दा सीपले रोजगारी पाउने वातावरण बनाउने बताउँथे ।

उनी अहिले पनि राजनीतिभन्दा धेरै विकासका भिजनका कुरा गर्छन् । रास्वपा प्रवेशपछि ५ माघमा जनकपुरको उद्घोष सभामा उनले सोधेका थिए, ‘म काम गर्ने मान्छे हुँ, म काम गरेर देखाउँछु । मलाई काम गर्न अवसर दिनुहुन्छ ?’

उनै बालेन आजदेखि काम गरेर देखाउने भूमिकामा आइपुगेका छन् । राजनीतिशास्त्री लोकराज बराल बालेन निकै चुनौतीपूर्ण अवस्थामा शासनसत्ता सम्हाल्न पुगेको बताउँछन् । जनतामा व्याप्त निराशा चिर्दै देशमा सुशासन र भ्रष्टाचार नियन्त्रण गर्नु उनका लागि सबैभन्दा चुनौतीपूर्ण रहेको बराल ठान्छन् ।

बालेनसँग संसदीय राजनीतिको अनभुव छैन । देशको शासनसत्ता सञ्चालनको त अनुभव हुने कुरै भएन । यस्तोमा उनले देशलाई समृद्धि र विकासको दिशामा लान्छन् ? कि संकटको मार्गमा ? चासोको विषय बनेको छ ।

मन र तन छुट्टिएको कांग्रेसलाई जोड्ने पुल बन्न म संसदीय दलको नेता हुनुपर्छ : आङ्देम्बे (भिडियो)

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिनिधिसभा सदस्य भीष्मराज आङ्देम्बेले दाबी प्रस्तुत गरेका छन्। उनी संसदीय राजनीतिको अनुभवी नेता हुन् ।

२०७० सालको संविधानसभा सदस्य रहिसकेका आङ्देम्बेले मिनी संसद भनिने संसदीय समिति उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिको सभापतिका रूपमा नेतृत्व गरिसकेका छन् ।

साढे चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय उनलाई संसदीय दलको नेतामा बलिया दाबेदारका रूपमा हेरिएकाे छ ।

संसदीय अभ्यास र प्रक्रियामा दख्खल राख्ने आङ्देम्बेलाई पार्टी सभापति गगन थापाले पनि नेतृत्वमा अघि सार्न सक्ने चर्चा पनि गाइँगुइँ छ। उनै नेता आङ्देम्बेसँग नेपालवान एचडीका लागि जङ्‍ग तामाङले गरेकाे संक्षिप्त संवाद गरेका छन्।

०००

संसद्‍मा विधायकको रूपमा तपाईंको भूमिका कस्तो पाउँछौँ ?

सत्ता सञ्‍चालन गर्ने पार्टी र साथीहरूलाई आलोचना र समर्थन काम हेरेर हुन्छ । प्रमुख प्रतिपक्षी दलको सदस्यको हैसियतले यो विषयमा हामी गम्भीरतापूर्वक र संवेदनशील भएर राष्ट्रिय स्वाभिमानको रक्षाको निम्ति हामी लागि रहने छौँ ।

नेपाली कांग्रेस संसदमा प्रमुख विपक्षी दल बनेको छ, विपक्षी नेता बन्‍न संसदीय दलको नेता बन्‍नुपर्छ, दलको नेतामा तपाईंको दाबी छ ?

दाबी त निश्‍चित रुपमा रहन्छ । सँगसँगै के छ भने हामी अहिलेको अवस्थामा प्रतिपक्षी दल संसदभित्र त जिम्मेवार हुनुपर्छ नै । सँगसँगै हामीले पार्टीलाई पनि व्यवस्थित गर्नु छ । मन र तन छुट्टिएको अवस्थामा मन र तन जोड्ने पुलको काम पनि गर्नु परेको छ ।

हिमाल, पहाड, मधेस र तराईमा व्यक्त संवेदनशील अभिव्यक्तिहरू छन्, त्यसलाई सम्मान गर्दै त्यसको प्रतिनिधित्व पनि गर्नु छ । प्रत्येक भूगोलमा उठेर आएको संवेदनशीलताले प्राप्त गरेका परिणामहरूमाथि उभिएर हामीले आत्मसमीक्षा गरेर नयाँ उचाई प्राप्त गर्नका निम्ति अगाडि बढ्नु छ । त्यसले गर्दा यी सबै कुरालाई हेर्दा निश्‍चित रुपमा मेरो आफ्नो उपस्थितिले समग्र पार्टीको निम्ति एउटा पुलको काम गर्छ । त्यसो हुनाले संसदीय दलको नेतामा गम्भीरतापूर्वक नै म आफूलाई अगाडि प्रस्तुत गरिरहेको छु ।

पार्टी सभापति गगन थापालाई म संसदीय दलको नेता बन्छु भनेर कुरा गर्नु भएको छ ?

विशेष महाधिवेशनबाट चुनेर आएको जुन कार्यसमिति छ र बिमतीका स्वरहरू अदालतमा पनि छ । खैर, जे–जे भए ता पनि अदालतले आफ्नो विचार सार्वजनिक नगरी रहेको अवस्थामा अहिलेको सम्पूर्ण कामकारबाही र पार्टीको भविष्यसँग सम्बन्धित हरेक निर्णयहरू अहिलेको सभापति गगन थापालगायतले तय गरेको केन्द्रीय कार्य समितिको बाटोबाट हामीहरू अगाडि बढ्नुपर्ने हुन्छ ।

उहाँहरू लगायत पार्टीभित्रको जो–जी जिम्मेवार नेताहरू हुनुहुन्छ, उहाँहरूसँग पनि मेरो व्यक्तिगत रूपमा कुराकानी भइरहेको छ । यसबीचमा मेरो घरभित्र परेको पितृशोक छ । पिताजीको देहान्त भएको छ । केही समय मैले त्यहाँ बिताउनुपर्‍यो । अब आउने समयमा फेरि पार्टी सभापतिजी लगायत कार्यसमितिका साथीहरू, शीर्ष नेताहरूसँग यही संवेदनशीलताका विषयमा पार्टीलाई जोड्नका निम्ति मेरो उपस्थिति पुलका रुपमा रहने विश्वास हो । त्यसो हुनाले उहाँहरूसँग मेरो कुरा राख्‍ने छु र अगाडि बढ्ने छु ।

जेन-जी प्रतिवेदनमा २३ भदौको घटनामा संलग्‍न भनेर राजनीतिक र सुरक्षा अधिकारीलाई दोषी करार गरियो, २४ गतेको विध्वंशबारे मौन छ । यसमा धारणा के हो तपाईकाे ?

यो अत्यन्तै गलत रुपमा आयो भन्‍ने मेरो व्यक्तिगत धारणा हो । यसप्रति सामूहिक/संस्थागत रूपमा हाम्रा विचारहरू निश्‍चित रुपमा आउने नै छन् । हामी यो विषयमा अत्यन्तै गम्भीर छौँ । २३ गतेको घटनाक्रमसँगै २४ गते भएका जुन-जुन आपराधिक क्रियाकलाप छन्, ती आपराधिक क्रियाकलापलाई ढाकछोप गर्ने खालको ढंगबाट आएको प्रतिवेदनबारे जसरी जताततै चर्चा परिचर्चा सुरु भएको छ, त्यस विषयमा हामी गम्भीर छौँ । यस विषयमा पार्टीले संस्थागत रुपमा निर्णय गरेर आफ्ना धारणाहरू सार्वजनिक गर्नेछन् ।

३६ वर्षे बालेन भाेलि प्रधानमन्त्री बन्ने, के छ प्रधानमन्त्री चयन प्रक्रिया ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरेको छ। 

बिहीबार पार्टी केन्द्रीय कार्यालय चमतीमा बसेको बैठकले शाहलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको हो। यससँगै औपचारिक रुपमा उनको प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। 

शाहले भोलि शुक्रबार मध्यान्ह १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिँदैछन्।  शपथ ग्रहण कार्यक्रममा उनले १०७ हिन्दु बटुक स्वस्ती वाचनको लागि, १०७ जना बौद्ध गुरुबाट मंगल वाचन र ७ जना ज्याेतिष शंखनादका लागि बोलाएका छन् । 

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा  पद तथा सपथ ग्रहण गराउने छन् ।

के छ प्रधानमन्त्री चयन प्रक्रिया ?

नेपालको संविधान, २०७२ को भाग- ७ मा संघिय कार्यपालिका सम्बन्धी व्यवस्था गरिएको छ। 

भाग-७ को धारा ७६ मा मन्त्रिपरिषद गठनसम्बन्धी व्यवस्था गरिएको छ। यही धाराको उपधारा-१ अनुसार भोलि बालेनले प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्।

अब बालेन संसदीय नेतामा चयन भएको रास्वपाको आधिकारिक पत्र राष्ट्रपतिलाई बुझाएपछि उनले बालेनलाई प्रधानमन्त्री नियुक्त गर्नेछन्। 

यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गरेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संविधानको धारा ७६(१) अनुसार सरकार गठन गरेको थियो। 

के छ ७६(१) मा ?  

‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रीपरिषदको गठन हुनेछ।’

 

 

बालेनलाई प्रधानमन्त्री बन्ने ढोका खुुला, बने रास्वपा संसदीय दलको नेता (भिडियो)

काठमाडों । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता बालेन्द्र शाह ‘बालेन’ चयन भएका छन् । उनी रास्वपा वरिष्ठ नेता हुन् ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले बालेनलाई सर्वसम्मत नेत नेत चयन गरेको हो । यससँगै बालेनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । उनले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् ।

उनको दल रास्वपाका सभापति रवि लामिछानेले बालेनलाई नेता चयन गरेपछि बधाई तथा शुभकामना दिएका छन् ।

उनले भने, ‘संसदीय दलको तर्फबाट उहाँलाई हार्दिक बधाई, शुभकामना र सफल कार्यकालको शुुभकामना ।’

३६ वर्षे बालेनले राजनीतिमा आएको तीन वर्षमै देशको शासन सत्ताको बागडोर सम्हाल्न लागेका हुन् । शासकीय लाभको पदमा यो उनको छलाङी उपलब्धि हो ।

रविको प्रस्तावमा बालेन दलको नेतामा सर्वसम्मत चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।

बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्ने निर्णय गरेको हो ।

पार्टी सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको हो ।

शाहलाई भोली राष्ट्रपतिले नेपालको संबिधानको धारा ७६(१) अनुसार प्रधानमन्त्री नियुक्त गर्नेछन्।

सभामुखमा आकाङ्क्षी हो भन्दा यस्तो आयो सोविता गौतमको जवाफ (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद सोविता गौतमलाई भावी सभामुखको रूपमा चर्चामा ल्याइएको छ ।

चितवन–३ बाट निर्वाचित गौतम अघिल्लोपटक पनि सांसद थिइन् । त्यसबेला उनी काठमाडौं–२ बाट निर्वाचित भएकी थिइन् ।

संसदीय प्रक्रिया र अभ्यास बुझेकी उनलाई अहिले रास्वपाभित्र भावी सभामुखका रुपमा हेरिँदा बिहीबार त्यसबारे नेपालवान एचडीकर्मीले उनीसँग जिज्ञारा राखे ।

‘तपाईं सभामुखको आकाङ्‍क्षी चाहिँ हुनुहुन्छ ? भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘पार्टीको निर्णयअनुरुप अघि बढ्छु ।’

सदन सञ्चालन गर्न अनुभवी नेता चाहिन्छ । सत्ता र प्रतिपक्षबीच बैठकमै कहिलेकाहीँ घम्साघम्सी पर्ने, तर्क वितर्क हुने, वेल घेराउ हुनेजस्ता गतिविधि हुँदा सुझबुुझपूूर्ण ढंगले सदनको नेतृत्व गर्न सक्ने नेता चाहिन्छ ।

यदि साेविता सभामुख भने त्यसमा अक्षम हुने कतिपयले टिप्पणी गरेका छन् ।

युद्धविरामका लागि इरानलाई अमेरिकाको प्रस्ताव

काठमाडौं। अमेरिकाले इरानलाई युद्धविरामका लागि १५ बुँदे प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। विभिन्न अमेरिकी र अन्तर्राष्ट्रिय स्रोतका अनुसार यही साताको सुरूमा मध्यस्थकर्तामार्फत उक्त प्रस्ताव तेहरानलाई हस्तान्तरण गरिएको हो।

अमेरिकी प्रस्तावमा इरानले कहिल्यै परमाणु हतियार नबनाउने प्रतिबद्धता जनाउनुपर्ने, फर्दो, नतान्ज र इस्फहानका तीन प्रमुख परमाणु भट्टी बन्द गर्नुपर्ने, तथा समृद्ध गरिएको युरेनियम आणविक ऊर्जा एजेन्सीलाई बुझाउनुपर्ने उल्लेख छ। त्यस्तै, इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने र हर्मुज जलडमरु समय पूर्ण रूपमा खुला राख्ने सर्त पनि प्रस्तावमा रहेको अमेरिकी पत्रिका फरेन पोलिसीले जनाएको छ।

अमेरिकाले इरानले लेबननमा हिजबुल्लाह, यमनमा हुथी र प्यालेस्टाइनमा हमासलाई दिँदै आएको आर्थिक तथा सैन्य सहयोग पूर्ण रूपमा रोक्नुपर्ने माग पनि अघि सारेको छ। प्रस्ताव स्वीकार भएमा अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्ध हटाउने, नागरिक परमाणु ऊर्जा कार्यक्रमलाई सहयोग गर्ने र त्यसमा अन्तर्राष्ट्रिय निगरानी रहने उल्लेख छ।

अमेरिकाले औपचारिक रूपमा प्रस्ताव सार्वजनिक नगरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताका लागि तयार भएको दाबी गरेका छन्। ट्रम्पका अनुसार इरान ‘परमाणु हतियार रोक्ने विषयमा सहमत’ भए पनि आलोचनाको डरले सार्वजनिक रूपमा स्वीकार नगरेको बताएका छन्।

तर अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार इरानले प्रस्ताव प्राप्त गरेको चौबीस घन्टामै अस्वीकार गरेको छ। इरानले अमेरिकालाई काउन्टर प्रस्ताव पनि बुझाएको उल्लेख गरिएको छ।

इरानी विदेशमन्त्री अब्बास अरागचीले मध्यस्थकर्तामार्फत युद्धरत पक्षबीच सन्देश आदान-प्रदान भइरहेको पुष्टि गरेका छन्। तर उनले यसलाई अमेरिका-इरान वार्ता भनेर बुझ्नु गलत हुने टिप्पणी गरेका छन्।

इरानले अमेरिकाबाट आक्रमण नगर्ने ग्यारेन्टी, विगतका आक्रमणहरूको क्षतिपूर्ति, खाडी क्षेत्रबाट अमेरिकी सेना फिर्ता गर्ने, तथा स्ट्रेट अफ हर्मुज प्रयोगबापत जहाजहरूले शुल्क तिर्नुपर्ने माग राखेको द वाल स्ट्रिट जर्नलले जनाएको छ। साथै, इजरायलले लेबननस्थित हिजबुल्लाहमाथि प्रहार बन्द गर्नुपर्ने र इरानले आफ्नो मिसाइल कार्यक्रम बिना सर्त सञ्चालन गर्न पाउनुपर्ने पनि इरानका मागमा परेको छ।

इरानमा पछिल्लो समय इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको प्रभाव झन् बढेको कारण कठोर सर्त राखिएको विश्लेषकहरूले बताएका छन्। अमेरिकी अधिकारीहरूले भने इरानका मागलाई ‘हास्यास्पद र असम्भव’ भन्दै टिप्पणी गरेका छन्।

यसबीच, राष्ट्रपति ट्रम्पले इरानले ४८ घन्टाभित्र हर्मुज जलडमरु नखोले ऊर्जा संरचनामाथि आक्रमण गर्ने चेतावनी दिएका थिए। तर उनले पाँच दिनसम्म कुनै आक्रमण नगर्ने घोषणा गर्दै तनाव केही घट्ने संकेत देखाएका छन्।

 

टालाटुली बाटुली हुँदैन सरकार गठनमा : हर्क साम्पाङ (भिडियो)

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले रास्वपासँग दुई तिहाइनजिकको बहुमत भएकाले सरकार गठनमा ‘टालाटुली बाटुली’ नहुने बताएका छन् ।

उनले रास्वपाबाट बालेनको नेतृत्वमा सरकार गठन हुन लागेकोमा खुसी प्रकट गर्दै राष्ट्रिय हित र जनहितका पक्षमा सरकारसँग सहकार्य गर्न सकिने पनि बताए ।

तर, राष्ट्रहित र जनहितविपरीत सरकार अगाडि बढे विरोध गर्ने स्पष्ट पारे । अर्को प्रसङ्गमा उनले जेन–जी प्रतिवेदनलाई गम्भीर रुपमा हेरिनुपर्ने पनि बताए ।

‘मैले जेन–जी प्रतिवेदन पढ्न पाएको छैन । झण्डै हजार पेजको छ, पढ्न समय लाग्छ, तपाईंहरूबाटै मैले थाहा पाएँ,’ उनले पत्रकारहरूलाई बिहीबार सिंहदरबारमा भने, ‘जेन–जी प्रतिवेदनलाई गम्भीर रूपमा हेरिनुपर्छ ।’

साम्पाङ जेन–जी विद्रोहलगत्तै देश शून्यताको अवस्थामा छँदा प्रधानमन्त्री बन्ने भन्दै काठमाडौं आएका थिए । तर, प्रधानमन्त्री त के मन्त्रीसमेत भएनन् ।

यसपछि रुष्ट उनले सर्वाधिक आलोचना भावी प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को गरेका थिए ।