`

शपथ ग्रहणपछि सर्वोच्चमा बालेन, किन पुगे ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) अवहेलना मुद्दामा सर्वोच्च अदालतमा उपस्थित भएर तारेख बुझेका छन्। सिंहदरबारमा सांसदको शपथ लिएलगत्तै उही पोसाकमै सर्वोच्च पुगेका बालेनले तारेख बुझेको कुरा सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले पुष्टि गरेका छन्।

तीन वर्षअघि उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोकिने भन्दै काठमाडौँ महानगरविरुद्ध अन्तरिम आदेश दिएको थियो। उक्त आदेशप्रति आक्रोशित भएका बालेनले सामाजिक सञ्जालमार्फत अदालत र सरकारलाई छिमेकी भारतसँग जोडेर आपत्तिजनक टिप्पणी गरेको आरोप लागेपछि अधिवक्ता वर्षाकुमारी झाले उनीविरुद्ध अवहेलना मुद्दा दर्ता गराएकी थिइन्।

यस मुद्दामा बालेनले तारिख वारेस राख्न माग गरे पनि सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले त्यो अनुरोध अस्वीकार गरेको थियो। अदालतले तारिख परेको दिन स्वयम् उपस्थित हुन निर्देशन दिएपछि बालेन सर्वोच्च अदालत पुगेका हुन्।

तीन वर्षअघि बालेनले सामाजिक सञ्जालमा लेखेका वक्तव्यलाई मुद्दाको आधार बनाइएको छ। उनले त्यतिबेला लेखेका थिए-‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्ने वाला छैन। फिल्म लेखकले ‘नेपाल भारतको अधीनमा थियो’ भनीसकेपछि उनीहरूको नियत बुझिन्छ। नेपाल सरकारले यसलाई स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ। यसको लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइनेछैन।’

जेन-जी प्रतिवेदनप्रति ओलीकाे आक्राेशपूर्ण प्रश्न : प्रधानमन्त्री भएवापत अपराधी हुनुुपर्ने ? (भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी प्रतिवेदनमा दोषी करार गरेकोप्रति गम्भीर असमझदारी प्रकट गरेका छन् ।

उनले दोषी करार गर्ने कार्यलाई स्तरहीन र कलाविहीन भद्दा नाटक भनेका छन् ।

मिडियाबाट जेन–जी प्रतिवेदन सार्वजनिक भएको भोलिपल्ट बिहीबार असन्तुष्टि जनाउँदै सोधे, ‘प्रधानमन्त्री भएवापत अपराधी भइदिनुपर्ने ? कस्तो स्तरहीन क्रियाकलाप भइरहेको छ ?’

ओलीले यस्ता अप्ठ्याराहरूसँग जुध्दै अगाडि बढ्नै बताए ।

जेन–जी प्रतिवेदनमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई शासकीय जिम्मेवारीमा रहेर लापारवाहीपूर्ण र हेलचेक्र्याईंपूर्ण कार्य गरेको भन्दै दोषी करार गरेको छ ।

अनुहार हेरेर एमालेमा कसैको मुल्याङ्कन हुँदैन : ओली

काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नवनिर्वाचित सांसदहरूलाई स्थापित मान्यतामा आधारित अनुशासित ढंगले काम गर्न निर्देशन दिएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित बैठकमा उनले सांसदहरूलाई अरूको गलत प्रवृत्तिमा नचल्न र पार्टीको स्थापित मान्यताअनुसार अघि बढ्न आग्रह गरेका हुन्।

ओलीले भने, ‘अरूका गलत प्रवृत्तिमा नचलौं। हाम्रा स्थापित मान्यताबाट अगाडि बढौं। अरूको अराजकताबाट नसिकौं। हामीभन्दा आधुनिक र एड्भान्स विचार बोकेको पार्टी नेपालमा छैन। हाम्रो पार्टी नै सबैभन्दा प्रगतिशील, परिवर्तनकारी र अनुशासित ढंगले चल्ने पार्टी हो। यसकारण यी कुरालाई बुझेर मात्रै अघि बढ्न आवश्यक छ।’

अध्यक्ष ओलीले दुवै सदनका पदाधिकारी केही दिनभित्र चयन हुने पनि जानकारी दिएका छन्। ‘कामका जिम्मेवारीहरू सुम्पिइनेछन्। त्यसमा पार्टीले गरेको मूल्यांकनअनुसार अघि बढ्नुपर्छ। ‘मलाई यो पद चाहियो’ भन्ने शैली हाम्रो पार्टीमा छैन’  उनले स्पष्ट पारे। 

उनले थपे, ‘पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने आधारमा मूल्यांकन हुनेछ। मूल्यांकन कामको आधारमा हुन्छ, व्यक्ति, अनुहार, क्षेत्रीय, जातीय, धार्मिक वा लैंगिक आधारमा होइन। कुनै पद यस ठाउँको भएकाले वा व्यक्तिगत कारणले होइन, कामको प्रदर्शनअनुसार मूल्यांकन हुनेछ।’

चुनाव जादुमय भयो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक, अपत्यारिलो र जादुमय भएको टिप्पणी गरेका छन् ।

पार्टी मुख्यालय च्यासलमा ओलीले आफ्नो पार्टी आकारमा सानो भएकोमा चिन्ता नगर्न सांसदहरुलाई सुझाव दिए ।

निर्वाचनमा एमालेविरुद्ध सम्पूर्ण प्रहार केन्द्रीत गरिएको ओलीले बताए । रास्वपातर्फ ईंगित गर्दै उनीहरुलाई धेरैतिरको सहयोग भएको टिप्पणीसमेत गरे ।

ओलीले भने, ‘निर्वाचन परिणामबारे धेरै टिप्पणी गर्ने बेला भएको छैन । यो निर्वाचन परिणाम अनपेक्षित, अस्वभाविक, अपत्यारिलो र जादुमय छ । हाम्रा विरोधिहरुले अथवा हाम्रा उद्देश्यका विरोधिहरुले हाम्रा विरुद्ध सम्पूर्ण प्रहार केन्द्रीत गरे । उनीहरुलाई धेरैतिरको सहयोग भयो । असभ्य, अश्लिल, गालीगलौज र कुप्रचारहरु भए । हाम्रो सभ्य शैलीले त्यसको प्रतिवाद गर्न सकेन । यस्तासँग के प्रतिवाद गर्ने भन्ने हिसाबले चुप लाग्ने प्रवृत्ति बढ्यो । डटेर सामना गर्न सकेनौं । सामाजिक सञ्जलमा हामीले बोल्न लेख्न सकेनौं ।’

ओलीले महाभारतको कथामा कौरव र पाण्डवको प्रसंग सम्झिए ।

उनले भने, ‘महाभारतमा कौरवको सेना धेरै ठूलो थियो । पाण्डवको सानो थियो । तर नतिजा सत्यको पक्षमा आयो । सत्यको पक्षमा आउँछ । राष्ट्रिय गौरवको झण्डालाई माथि उठाउने काममा हामी लागेका छौं ।’

१४ अंकले सेयर बजार बढ्दा पनि घट्यो कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंकले बढेको छ। यस वृद्धिपछि नेप्से परिसूचक २९५० अंकमा कायम भएको छ। बजार बढ्दा पनि कारोबार रकम घटेको देखिएको छ। अघिल्लो दिन १५ अर्ब ९ करोडको कारोबार भएकोमा बिहीबार १३ अर्ब १६ करोड रुपैयाँको कारोबार मात्र भएको छ। १७८ कम्पनीको मूल्य बढ्दा ८० कम्पनीको घटेको र ८ कम्पनीको स्थिर रहेको छ।

समूहगत प्रदर्शनमा जलविद्युत् समूह सबैभन्दा धेरै १.५६ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ ०.३७, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.८१, उत्पादन तथा प्रशोधन १.५०, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४३ र अन्य समूह ०.६५ प्रतिशतले बढेका छन्। त्यसैगरी, व्यापार समूह २.८४ प्रतिशत घटेको छ भने जीवन बीमा ०.०४ र विकास बैंक ०.०५ प्रतिशतले घटेका छन्।

आज ५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। यी कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन पर्छन्। त्यस्तै, नेसनल हाइड्रोपावर ६.२४, रिडी पावर ६.१९ र शुभम पावर ५.८० प्रतिशतले मूल्य बढेका छन्।

सबैभन्दा बढी मूल्य घट्ने कम्पनी पन्चकन्या माइ हाइड्रोपावर ७.४८ प्रतिशतले घटेको छ। त्यसैगरी, सिन्धु विकास बैंक ३.५८, कर्पोरेट डेभलपमेन्ट ३.२४ र विशाल बजार ३.४ प्रतिशतले घटेका छन्।

आज धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल, नेसनल हाइड्रोपावर, रिडी पावर र ङादी ग्रुप रहेका छन्।

 

हामी एकदमै जिम्मेवार र अनुशासित छौँ : सागर ढकाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता सागर ढकालले अबको कार्यकालमा पूर्ण जिम्मेवारी र अनुशासनसाथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

उनकाअनुसार, ‘जनताले दिएको माया र शक्ति नेपाल र जनताको उत्थानमा प्रयोग गर्नुपर्छ र यस कार्यमा व्यक्तिगत लाभको चाहना प्राथमिकता हुँदैन।’

साथै, उनले पार्टीका नेताहरूले सरकारी कामकाजमा देखा पर्ने अधिनायकवादी प्रवृत्तिको सचेत मूल्याङ्कन गर्दै जनताको शक्ति र अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार, यो कार्यकाल जनताको विश्वास र अपेक्षालाई पूरा गर्ने निर्णायक चरण हुने छ।

‘जनताले दिएको अवसर र शक्ति सम्मान गर्दै, हामी जिम्मेवारीसाथ काम गर्छौं र देशलाई अघि बढाउने अभियानमा पूर्णतः सक्रिय रहनेछौं’ ढकालले भने। 

 

पार्टीले संसदीय दलको नेता बनाए खुट्टा नकमाउने सुहाङको अठोट

काठमाडौ। नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका छन्।

सांसद पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका नेम्वाङले सञ्चारकर्मीहरूसँगको संवादमा संसदीय दलको नेताबारे पार्टीभित्र अहिलेसम्म कुनै छलफल नहुकेको बताए।

‘हाम्रो अग्रज र अभिभावक अहिलेसम्म शोकमा हुनुहुन्थ्यो, त्यसैले पार्टीभित्र यसबारे छलफल भइरहेको अवस्था छैन,’ उनले भने। उनले थपे, ‘सामाजिक सञ्जाल र बाहिर जुन तरिकाले कुरा उठिरहेको छ, त्यो उहाँहरूको शुभेच्छा हो र म त्यसको सम्मान गर्छु।’

नेम्वाङले संसदीय दलको नेताबारे पार्टीले निर्णय गरेर अगाडि बढाए आफू पूरी तयारीका साथ जिम्मेवारी लिने बताएका छन्। ‘पार्टीले मलाई अगाडि बढ भने मैले खुट्टा त तल राखेर काम गर्नेछु,’ उनले स्पष्ट पारे।

 

टीओबी ग्याङलाई फौजदारी कारबाही गर्न सिफारिस

काठमाडौं ।  भदौ २३ र २४ गते राजधानीमा भएको जेन्जी आन्दोलनका क्रममा हिंसा, दमन र लुटपाटका घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनमा टीओबी ग्रुपका सदस्यहरूलाई फौजदारी संहिता अनुसार कारबाही गर्न सिफारिस गरिएको छ।

आयोगका अनुसार, भदौ २३ गते चाबहिल-ओम अस्पताल नजिकबाट धोबीखोला कोरिडोर हुँदै बिजुली बजार हुँदै नयाँ बानेश्वर पुगेका टीओबी समूहका व्यक्तिहरूले प्रदर्शनकारीहरूलाई उक्साउने र शान्ति भङ्ग गर्ने कार्य गरेको ठहर छ। ती व्यक्तिहरूले भीड नियन्त्रणबाहिर पुर्‍याएर हिंसा भड्काएको पाइएपछि आयोगले फौजदारी संहिता दफा ३५ अनुसार मुद्दा चलाउन सिफारिस गरेको छ।

त्यसै दिन संसद् भवन परिसरमा गोली चल्ने घटनामा संलग्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिम्मेवार अधिकृत तथा जवानहरूलाई पनि जबाफदेही बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

भदौ २४ गते पूर्व प्रधानमन्त्री देउवासहितका नेताहरूको घरमा भएको आक्रमण र आगजनीको घटनालाई आयोगले केवल जनआक्रोशको रूपमा मात्र हेर्न नमिल्ने स्पष्ट पारेको छ। देउवा निवासमा भेटिएको ठूलो परिमाणको रकम जलेको वा नजलेको अवस्थामा समेत यसको स्रोत र वैधानिकतामा प्रश्न उठेको उल्लेख छ र आयोगले यसबारे कानुन बमोजिम गहिरो अनुसन्धान हुनुपर्ने माग गरेको छ।

प्रदर्शनको नाममा भएका तोडफोड, लुटपाट र आगजनीमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको पनि संलग्नता रहेको तथ्य आयोगले सार्वजनिक गरेको छ। आयोगले अनुसन्धानमा विभिन्न सीसीटीभी फुटेज, श्रव्य-दृश्य सामग्री, साथै नेपाल टेलिकम र एनसेलबाट प्राप्त बीटिएस डेटालाई मुख्य आधार बनाएको छ।

नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण समारोह सम्पन्न (तस्बिरहरु)

काठमाडौं । नवनिर्वाचित सांसदहरुले सपथ ग्रहण गरेका छन्। 

बिहिबार सिंहदरबार स्थित नवनिर्मित संसद भवनको वैकल्पिक सभाकक्षमा संसदका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले सपथ ग्रहण गराएका हुन्। 

केसीले बुधबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपतिबाट सपथ ग्रहण गरेका थिए। 

तस्बिरहरु:

अब १०० मिटरको दौड जस्तो गतिमा काम गर्छौ : मनिष झा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झालेले नेपालको लोकतन्त्रको बाँकी यात्रा अब म्याराथनको गतिमा होइन, १०० मिटरको दौड जस्तो तीव्र गतिमा पूरा गर्नुपर्ने बताएका छन्।

नवनिर्वाचित सांसदको रूपमा शपथ ग्रहणका लागि सिंहदरबार पुगेका उनले सञ्चारकर्मीहरूसँगको संवादमा देशको राजनीति र अर्थतन्त्रलाई गति दिन आगामी कार्यकाल चुनौतीपूर्ण र निर्णायक हुने उल्लेख गरेका छन्।

नेपालको लोकतन्त्रको ६६ वर्षको इतिहासलाई स्मरण गर्दै उनले भने, अबको केही वर्षमा दशकौँको उपलब्धि हासिल गर्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको छ। झाले विश्वका बदलिँदो राजनीतिक र आर्थिक परिवेशमा नेपालले आफ्नो गति तीव्र बनाउनुपर्ने वैकल्पिकता नरहेको स्पष्ट पारे।

‘हाम्रो ६६ वर्षको लोकतान्त्रिक यात्रालाई अब यो कार्यकालले अर्को दुई–तीन दशकको स्पीडमा लैजानुपर्छ,’ उनले भने, ‘म्याराथनको गतिले अब पुग्दैन, हामी १०० मिटरको स्पीडमा दौडेर बाँकी यात्रा तय गर्नुपर्ने अवस्थामा छौँ।’

 

सपथ ग्रहण गरे नवनिर्वाचित सांसदहरुले

काठमाडौँ।  नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण समारोह सम्पन्न भएको छ। 

आज सिंहदरबारस्थित आयोजित कार्यक्रममा जेष्ठ सदस्यको हैसियतले नेपाली कांग्रेसबाट निर्वाचित सांसद अर्जुन नरसिंह केसीले सांसदहरुलाई सपथ ग्रहण गराएका हुन्। 

अब भोली राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिनेछन्। 

सिंहदरबारमा सपथ ग्रहण, माइतीघरमा बालेनविरुद्ध प्रदर्शन

काठमाडौं। नयाँ प्रधानमन्त्री नियुक्तिका लागि प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउने तयारी थालेपछि महिला अधिकारकर्मीहरू सडकमा उत्रिएका छन्। राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, सदस्य लिली थापा, र महिला मानवअधिकार राष्ट्रिय सञ्जालकी अध्यक्ष श्यामकुमारी साहसहित दर्जनौं महिला अधिकारकर्मीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन्।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ सिट जितेर प्रधानमन्त्री बन्न लागेका बालेनले मन्त्रिमण्डलको आकार घटाउने र उक्त मन्त्रालयलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा समाहित गर्ने तयारी गरेसँगै महिला अधिकारकर्मीहरू आक्रोशित बनेका हुन्। उनीहरूको भनाइ अनुसार, महिला तथा बालबालिका मन्त्रालयलाई थप सशक्त बनाउनुपर्ने अवस्थामै यसलाई अशक्त बनाउने काम भइरहेको छ।

महिला अधिकारकर्मीहरूको निष्कर्ष छ कि नेपालका कुल जनसंख्याको झण्डै ५१ प्रतिशत नागरिकसँग सम्बन्धित विषयहरू सम्बोधन गर्दै आएको मन्त्रालय हटाउँदा ठूलो असर पर्नेछ। नयाँ सरकारले यसबारे ध्यान दिनुपर्ने चेतावनीका साथ आज उनीहरूले आक्रामक तर शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

सपथका लागि सांसदहरु पुगे सिंहदरबार

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीबार शपथ ग्रहण गर्दैछन्। शपथका लागि सांसदहरू प्रतिनिधिसभा भवनमा भेला हुने क्रम जारी छ, जहाँ केही सांसद आफ्नै संस्कृति झल्किने पहिरनमा उपस्थित भएका छन्।

शपथ ग्रहणको कार्यक्रम प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सञ्चालन गर्ने तय गरिएको छ। केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पद तथा गोपनीयताको शपथ गराएकाले अब उनी नै सभासद्‌हरूलाई शपथ गराउने जिम्मेवारीमा छन्।

शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुने भएको छ। संघीय संसद् सचिवालयका अनुसार ४७ सांसदले नेपालीबाहेक अन्य भाषामा शपथ लिन तयारी गरेका छन्, जसमा १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्।

नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सांसदहरूले पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।

१ लाख १५ हजार च्याटमा केमिकल बनाउने विधिमा छलफल

भदौ २३ र २४ का घटनाका क्रममा ‘हामी नेपाल’ एडमिन रहेको ‘युग अगेन्स्ट करप्शन’ र ‘युवा हब’ नामक दुई डिस्कर्ड सर्भरमा एक लाख १४ हजारभन्दा बढी संदेश आदानप्रदान भएको जाँचबुझ आयोगको अध्ययनबाट खुलेको छ। गौरीबहादुर कार्की नेतृत्वको आयोगले ती सर्भरमार्फत् सोडियम मेटल, म्याग्नेसियमजस्ता प्रज्वलनशील रसायन बनाउन सकिने विधि सम्बन्धी जानकारी आदानप्रदान भएको तथ्य उजागर गरेको हो।

प्रतिवेदनका अनुसार ती प्ल्याटफर्महरूमा बोतल, पेट्रोल र कपडा प्रयोग गरेर मोलोटोभ कक्टेल बनाउने विधिबारे मात्रै ३५६ पटक चर्चा भएको पाइएको छ।

‘मेडिकल रेस्क्यू’ का नाममा प्रदर्शनस्थलमा सक्रिय रहेको ‘हामी नेपाल’ समूहले सूचना आदानप्रदानका लागि भीडभित्र डिस्कर्ड सर्भरको क्युआर कोड अंकित प्लेकार्ड समेत प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ। विशेषगरी भदौ २३ गते मात्र उक्त सर्भरबाट १,८१० वटा संवाद भएको देखिन्छ।

त्यही दिन साँझ डिस्कर्डमार्फत् ‘होस्टलमा युवती बलात्कार भयो’, ‘संसद भवनभित्र दर्जनौँ युवाहरू मारिए’ जस्ता झुटा र भ्रामक सूचना फैलाइएको आयोगले निष्कर्ष निकालेको छ। यिनै मिथ्या सूचनाले भदौ २४ गते आन्दोलनमा उत्रिएका युवाहरू झनै आक्रामक बन्न भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ।

गुम्बा र चर्च अनुगमन गर्न कार्की आयोगको सुझाव

काठमाडौं। भदौ २३ र २४ का हिंसात्मक घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले काठमाडौंभित्र रहेका आलिसान गुम्बासँगै देशभरका चर्च र मदरसामा हुने गतिविधि प्रभावकारी रूपमा निगरानी गर्न सरकारलाई सुझाव दिएको छ।

आयोगले भदौ २३ र २४ को आन्दोलनमा टिओबी समूहको संलग्नताबारे प्रतिवेदनमा उल्लेख गरेको छ, तर उनीहरूमाथि कुनै प्रकारको कारबाही सिफारिस भने गरेको छैन। प्रतिवेदनमा काठमाडौं उपत्यकाका डाँडामाथि निर्माण गरिएका ठूला र आकर्षक गुम्बाहरूको सरकारले नियमित अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

यससँगै मुस्लिम समुदायका बालबालिका अध्ययन गर्ने मदरसाहरू र क्रिश्चियन समुदायका चर्चहरूमा आउने फण्डको स्रोत तथा ती संस्थाहरूमा भइरहेका गतिविधिहरूको समेत कडा निगरानी आवश्यक रहेको आयोगले सुझाएको छ। आयोगका अनुसार यस्तो गतिविधिले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले मुलुकको गुप्तचर प्रणाली बलियो बनाउनु तत्काल आवश्यक छ।

एमालेले बोलायो राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरुको बैठक

काठमाडौं। नेकपा एमालेले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको बैठक आह्वान गरेको छ। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यतालिका रहेको छ। 

बिहीबार सांसदहरूको शपथपछि दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा राष्ट्रिय सभाका सांसद सहितको बैठक बोलाइएको सचिव पद्मा अर्यालले जानकारी दिइन्।

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ बिहीबार दिउँसो दुई बजे सिंहदरबारमा हुँदैछ।

‘आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा दुवै सदनका सांसदहरूलाई बोलाइएको छ। अध्यक्ष केपी शर्मा ओलीले दिर्नेशन दिने कार्यसूची रहेको छ,’ उनले भनिन्।

कार्की आयोगमा प्रधानसेनापतिको बयान ‘भदौ २३ गते भयावह आन्दोलन हुन्छ भन्ने पहिल्यै थाहा थियो’

काठमाडौं।  भदौ २३ र २४ का घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सरकारले अझै औपचारिक रूपमा सार्वजनिक गरेको छैन । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले प्रतिवेदन बुझाइसकेपछि पनि सरकारले त्यसलाई सार्वजनिक नगरेको भन्दै आलोचना भइरहेको थियो। तर अहिले सो प्रतिवेदन बाहिरिएको छ।

प्रतिवेदनमा प्रधान सेनापति अशोकराज सिग्देलको बयान पनि समावेश गरिएको छ। बयानअनुसार सेनापति सिग्देलले भदौ २२ गते नै आन्दोलन व्यापक हुन सक्ने सूचना प्राप्त भएको बताएका छन्। उनले भनेका छन्, ‘भदौ २२ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रिय अनुसन्धान विभाग र अन्य सुरक्षा निकायबाट आन्दोलन व्यापक हुन सक्ने जानकारी प्राप्त भएको थियो। तर सो मितिसम्म राष्ट्रिय सुरक्षा परिषद्को औपचारिक बैठक नबसेकाले विशेष रणनीतिक छलफल हुन सकेको थिएन।”

उनका अनुसार भदौ २३ मा संसद भवन क्षेत्रको सुरक्षा अवस्था जटिल बन्दै गएपछि अघिल्लै निर्णयअनुसार अन्य सुरक्षा निकायसँग समन्वय गर्दै नेपाली सेनालाई आवश्यक तयारीका लागि निर्देशन दिइएको थियो। उनले थपे, “स्थानीय प्रशासनको अनुरोधमा कर्फ्यू कार्यान्वयनका लागि तैयार रहन मातहतलाई सचेत गराइएको थियो। सो दिन नेपाली सेना परिचालित थिएन र सुरक्षा व्यवस्था गृह मन्त्रालयको नेतृत्वमा नै अघि बढाइएको थियो।”

प्रधानसेनापति अशोकराज सिग्देलको बयान:

‘म २०४३ साल फागुन ३ गते नेपाली सेनामा प्रवेश गरी २०८१ भदौ २४ गतेदेखि प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएको छु। राष्ट्रिय सुरक्षा परिषद्को सदस्यको हैसियतमा भदौ २३ र २४, २०८२ मा जियनजेड युवा पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा उत्पन्न जटिल र विषम परिस्थितिमा मैले संविधान र कानूनको मर्मअनुसार आफ्नो दायित्व निर्वाह गरेको छु।

भदौ २२ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य सुरक्षा निकायबाट आन्दोलन व्यापक हुन सक्ने जानकारी प्राप्त भएको थियो। तथापि सो मितिसम्म राष्ट्रिय सुरक्षा परिषद्को औपचारिक बैठक नबसेकाले विशेष रणनीतिक छलफल हुन सकेको थिएन।

भदौ २३ गते संसद भवन क्षेत्रको सुरक्षा अवस्था जटिल बन्दै गएपछि अघिल्लो निर्णयअनुसार अन्य सुरक्षा निकायसँग समन्वय गर्दै आवश्यक सुरक्षा तयारी गर्न निर्देशन दिएको थिएँ र स्थानीय प्रशासनको अनुरोधमा कर्फ्यू कार्यान्वयनका लागि तयार रहन मातहतलाई सचेत गराएको थिए। उक्त दिन नेपाली सेना परिचालन नभएको र गृह मन्त्रालयको नेतृत्वमा सुरक्षा व्यवस्था कार्यान्वयन भएको थियो।

भदौ २३ गते अन्दाजी २०:०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्‌को ३९ औं बैठक बस्यो। नेपाली सेना स्वतः सडकमा उनने संस्था होइनः संवैधानिक तथा कानूनी प्रक्रिया पूरा भई नेपाल सरकार मन्त्रिपरिषद्‌को सिफारिस र राष्ट्रपतिको निर्णयबाट मात्र परिचालन हुने व्यवस्था रहेको छ।

बैठक बस्दासम्म गृहमन्त्रीको राजीनामा भइसकेको, बन्द गरिएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाइ सकिएको र आन्दोलनकारीका माग सम्बोधन हुने आकलन गरिएको अवस्थामा २४ गते विषम परिस्थिति उत्पन्न हुन सक्ने ठोस अनुमान नगरिएको हुँदा सेना परिचालनबारे कुनै निर्णय वा छलफल भएन।

भदौ २४ गते बिहान प्रधानमन्त्री निवासमा भएको छलफलमा प्रधानमन्त्रीले मसँग सुझाव माग्नुभयो। मैले दुई विकल्प प्रस्तुत गरे पहिलो, उहाँकै राजनीतिक दलका केही वरिष्ठ पदाधिकारीले राजीनामा दिन सुझाव दिइरहेको बुझिएको हुँदा थप मानवीय क्षति रोक्न राजनीतिक समाधानतर्फ जान राजीनामा उपयुक्त हुन सक्ने:

दोस्रो, संवैधानिक रूपमा सिफारिस भएमा नेपाली सेना परिस्थिति नियन्त्रणका लागि पूर्ण रूपमा तयार रहेको तर प्रधानमन्त्रीले राजीनामा दिएपछि सुरक्षा अवस्था झन् अराजक बन्दै गयो र नेपाली सेनाले क्रमशः विज्ञप्ति जारी गर्दै अपिल गन्यो तथा राति २२:०० बजेदेखि पूर्ण रूपमा तैनाथ भई शान्ति सुव्यवस्था बहाल गर्न सक्रिय भूमिका निर्वाह गन्यो।

सुरक्षा निकायहरूबीच समन्वयको अभाव रहेको आरोपलाई म अस्वीकार गर्दछु। तीनै सुरक्षा निकायका प्रमुखहरू निरन्तर सम्पर्क र संयुक्त छलफलमा थियौ र जोखिमपूर्ण अवस्थामा समेत नेपाली सेनाले अन्य सुरक्षा निकायका सदस्यहरूको सुरक्षा तथा उद्धार गरेको छ।

सिंहदरबार, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, इन्धन डिपो कारागार तथा अन्य संवेदनशील संरचनाहरू जोगाउन नेपाली सेनाले अग्रसर भूमिका खेलेको छ, जहाँ मानवीय क्षति न्यून राख्न अत्यन्त संयमता अपनाइएको थियो। नेपाली सेना स्पष्ट कार्यादेिश र संवैधानिक प्रावधानबिना परिचालित हुँदैन भन्ने विषयमा सबै स्पष्ट हुन आवश्यक छ। नेपालको संविधानको धारा २६६ ११, २६७४६) र २७३ १ बमोजिम मात्र सेना परिचालन हुन सक्ने संवैधानिक व्यवस्था रहेको छ।

भदौ २४ गते नेपाली सेनालाई सहयोगका लागि अनुरोध गर्दा समयमा सम्बोधन नभएको भन्ने गुनासो सुन्नमा आएको भए पनि त्यो यथार्थ होइन नेपाली सेनाले दमकल प्रयोग गरी सिंहदरबारस्थित राष्ट्रिय डाटा सेन्टर तथा अर्थ मन्त्रालयको डाटा सेन्टरमा लागेको आगलागी नियन्त्रण गरेको हो।

साथै राष्ट्रपति निवास, प्रधानमन्त्री निवासका मुख्य संरचना, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा देशभरका विमानस्थल, इन्धन डिपो, कारागार लगायतका Vital Installation हरू नेपाली सेनाको पहलमा जोगाइएको हो। सिंहदरबार र राष्ट्रपति कार्यालय परिसरबाहिर जम्मा भएका उत्तेजित भीडलाई मौखिक चेतावनी, करिब ४६ राउन्डभन्दा हवाई फायर र मूल गेटबाट पटक पटक भौतिक रूपमा धकेली सम्झाइबुझाइ गरी बाहिर पठाइएको थियो।

भदौ २४ गते बिहान ०५:०० बजेदेखि कर्फ्यू लगाउन नेपाली सेनाले सुझाव दिएको भए पनि काठमाडौमा बिहान ०८:३० बजेबाट मात्र कर्फ्यू घोषणा भयो, जतिबेला प्रदर्शनकारीहरूको उल्लेख्य उपस्थिति भइसकेकोले उक्त कर्फ्यू प्रभावकारी हुन सकेन।

मैले भौतिक संरचनाभन्दा पनि मानवीय सुरक्षालाई प्राथमिकता दिएको छ। सेना परिचालनसम्बन्धी आलोचनालाई तत्कालीन संवैधानिक बाध्यता र परिस्थितिसापेक्ष मूल्याङ्कनका आधारमा हेर्नुपर्छ भन्ने मेरो धारणा छ। लुटिएका हतियार तथा फरार कैदी बन्दी फिर्ता ल्याउन संयुक्त अपरेशन सञ्चालन गरिएको, हतियार फिर्ता बुझाउन सार्वजनिक आग्रह गरिएको र समन्वयात्मक सुरक्षा संयन्त्र सक्रिय राखिएको थियो।

अन्त्यमा, भविष्यमा यस्ता घटना दोहोरिन नदिन राज्यका प्रशासनिक तथा सुरक्षा संयन्त्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी कानूनी आधारमा सुदृढ र प्रभावकारी बनाउनुपर्ने, राष्ट्रिय सुरक्षा परिषद्लाई अझ सक्रिय र जिम्मेवार बनाउनुपर्ने तथा सुरक्षा निकायहरूबीच गहिरो समन्वय र दीर्घकालीन संरचनागत सुधार आवश्यक रहेको मेरो निष्कर्ष रहेको छ।’

रविको मुद्दाको सुनुवाई जारी, आउन सक्छ फैसला

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ जारी छ। 

न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा हेर्दाहेर्दैमा रहेको यो मुद्दाको सुनुवाइ पछिल्ला केही दिनदेखि निरन्तर रूपमा चलिरहेको छ।

मंगलबार रिट निवेदकका तर्फबाट बहस सम्पन्न भएको थियो। आज भने महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलहरूले जवाफी बहस प्रस्तुत गर्ने तयारी गरेका छन्।

महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछानेका विषयमा अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। निर्णयप्रति आलोचना बढेपछि उनले माघ २ गते अन्य आरोपितहरूका हकमा पनि अभियोगपत्र संशोधनको निर्णय लिएको बताइएको छ।

यसअघि सर्वोच्च अदालतले मुद्दा फिर्तासम्बन्धी महान्यायाधिवक्ता कार्यालयको निर्णयसँग सम्बन्धित कागजात मागिसकेको छ।

टिओबी समूहको प्रवेशले भीड थप उत्तेजित बनेको कार्की आयोगको ठहर

काठमाडौँ।  भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा टिबेटियन ओरिजिनल ब्लड (टिओबी) समूहको प्रवेशपछि आन्दोलनकारी भीड आणखी उत्तेजित भएको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित छानबिन आयोगले भदौ २३ र २४ मा भएका मानवीय क्षति र भौतिक नोक्सानीबारे तयार गरेको प्रतिवेदनमा यो तथ्य समावेश गरिएको हो।

आयोगका अनुसार भदौ २३ गते दिउँसो करिब १२ बजे मोटरसाइकलमा सवार टिओबी समूह बानेश्वर क्षेत्रमा प्रदर्शनरत भीडतर्फ प्रवेश गरेपछि वातावरण चर्किएको थियो। उक्त समूह चाबहिल-ओम अस्पताल-धोबिखोला करिडोर हुँदै गौशाला लगायतका क्षेत्रबाट करिब एक सय मोटरसाइकलसहित बानेश्वरतर्फ अघि बढेको प्रतिवेदनमा उल्लेख छ। बिजुलीबजारतर्फ पुगेपछि समूहले मोटरसाइकल ‘पड्काउँदै’ हिँडेकै कारण भीड थप उक्सिएको आयोगको निष्कर्ष छ।

प्रतिवेदनमा भनिएको छ, “फलस्वरूप भीड झन् आक्रामक बन्यो र प्रहरीलाई धक्का-मुक्का गर्दै पानीको बोतल, ढुंगा, रड, इँटा, गुलेली आदि प्रयोग गरेर प्रहार गर्दै पश्चिम गेटतर्फबाट संघीय संसद भवन परिसरभित्र छिर्ने प्रयास गरियो।’

प्रहरी पक्षले समेत स्थिति नियन्त्रणबाहिर गएपछि माइकिङमार्फत सम्झाइसकेपछि मात्र बल प्रयोग गरिएको बयान दिएका छन्, जसमा डिएसपी सुन्दर तिवारीसहित अन्य प्रहरीको भनाइ समावेश गरिएको छ।

यसअघि प्रहरीले टिओबी समूहका तेन्जीन दावा लामालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। तर आयोगले टिओबीको कुनै राजनीतिक संलग्नता नदेखिएको निष्कर्षसमेत दिएको छ।

चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो

काठमाडाैं। आज चैत्र शुक्ल अष्टमी अर्थात चैते दशैँ । यस अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ एवं देवीका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ ।

विशेष गरी काठमाडौंको भद्रकाली, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, र गुह्येश्वरी मन्दिरहरूमा पूजाआजा र दर्शन गर्नेहरूको घुइँचो देखिएको छ । चैते दशैँका दिन देवीको उपासना गर्नाले सुख, शान्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । उपत्यका बाहिरका गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी, वागलुङ कालिका र ताप्लेजुङको पाथीभरा लगायतका प्रसिद्ध मन्दिरहरूमा पनि दर्शनार्थीको विशेष उपस्थिति रहेको छ ।

वर्षमा दुई पटक मनाइने दशैँमध्ये चैत्रमा मनाइने यो दशैँलाई ‘सानो दशैँ’ का रूपमा पनि लिइन्छ । असोजको बडादशैँ जस्तै यस दिन पनि शक्तिस्वरूपा भगवतीको विशेष पूजा गरिन्छ । चैते दशैँको भोलिपल्ट अर्थात चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । भगवान श्रीरामको जन्मजयन्तीका अवसरमा भोलि राम मन्दिरहरूमा विशेष उत्सव हुने गर्दछ ।

इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबीच वार्ता जारी रहेको दाबी गरेका छन् । यद्यपि तेहरानले भने दुई पक्षबीच कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता भइरहेको कुरालाई अस्वीकार गरेको छ ।

ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्स, विदेशमन्त्री मार्को रुबियो, ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुशनर संलग्न रहेको बताए।

उनले तेहरान सम्झौता गर्न इच्छुक रहेको समेत बताए । इरानसँग कुटनीतिक पहल गर्नुको कारणबारे सोधिएको प्रश्नमा उनले उनीहरू अमेरिकासँग संवाद गरिरहेका र उनीहरूका कुराहरू तर्कसंगत रहेको बताए ।

ट्रम्पले इरानले वासिङ्टनलाई ठूलो धनराशि बराबरको अत्यन्तै महत्वपूर्ण उपहार दिएको समेत दाबी गरे । तर उनले त्यो उपहार ठ्याक्कै के हो भन्नेबारे खुलाउन चाहेनन् ।

बढ्दै अमेरिकी डलरको भाउ

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलरलगायत प्रमुख मुद्राहरूको मूल्यमा हेरफेर भएको छ। 

निर्धारण गरिएको नयाँ दरअनुसार एक अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ। युरोपियन युरोको खरिददर १७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ भने युके पाउन्ड स्ट्रलिङको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ ११ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्कको खरिददर १९० रुपैयाँ २३ पैसा र बिक्रीदर १९० रुपैयाँ ९९ पैसा तोकिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर १०४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ८० पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ। अन्य केही मुद्रामा जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा, चिनियाँ युआनको खरिददर २१ रुपैयाँ ७६ पैसा र बिक्रीदर २१ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ र बिक्रीदर ४० रुपैयाँ १६ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा तोकिएको छ।

आफ्नै भाषामा सपथ लिने सांसदको संख्या ६३ पुग्यो

काठमाडौं । नेपाली बाहेक अन्य भाषामा शपथ लिन चाहने प्रतिनिधि सभा सदस्यको संख्या ६३ पुगेको छ।


संघीय संसद् सचिवालयका अनुसार यी सांसदहरूले इमेलमार्फत र भौतिकरूपमै उपस्थित भएर आफ्ना मातृभाषामा शपथ लिन इच्छा व्यक्त गरेका हुन्।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे तय गरिएको छ।
शपथ ग्रहण गराउने जिम्मेवारी प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई दिइएको छ।

सचिवालयले सांसदहरूलाई निर्वाचन आयोगबाट प्रदान गरिएको प्रतिनिधि सभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजका दुई फोटो सहित तोकिएको समयभन्दा दुई घण्टा अगाडि उपस्थित हुन आग्रह गरेको छ।

ओली-लेखक-खापुङलाई कैद सजायकाे सिफारिस गरेकाे आयोग बालेन-रवि र सिग्देलबारे किन चुप ?

काठमाडौं। नयाँ सरकारकाे हुनेवाला प्रधानमन्त्री बालेन्द्र शाह ’बालेन’ले आफू काठमाडौं महानगरपालिकाकाे प्रमुख हुँदा भदौ २३ र २४ को घटनामा आफ्नो समर्थन नरहेको दाबी गरेका छन्।

उनले त्यसबेलाकाे घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगलाई बयान दिने क्रममा यस्तो बताएका हुन्। तर संसद विघटन, सरकार गठन, वार्ता सबै उनकै चाहनाअनुसार भएको थियो। विडम्बना ! बालेनबारे कार्की आयोग चुपचाप देखियाे। 

‘२०८२ साल भाद्र २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिएँ । २३ गतेको शान्तिपूर्ण र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन’ उनले बयानको क्रममा बताएका छन्। तर उनले भदौ २२ नै समर्थन जनाउदै सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेका थिए।  जहाँ उनले ‘उमेरका कारण म आउन नमिलेपनि भोलीको प्रदर्शनमा मेरो समर्थन रहन्छ’ लेखेका छन्। 

जेन-जी विद्राेहका बेला उनले लेखेका स्टाटसहरुले भने आयाेगमा दिएकाे बयानलाई खारेज गरिदएकाे छ ।

हेराैँ उनका केही पोष्ट –

अहिले कार्की आयोगमा बालेनले दिएका बयानकाे केही अंश सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमहरुमा छरपष्ट छन् । ती सार्वजनीक भएका अंशहरुमा उनले भदौ २३ र २४ को विद्रोहमा आफ्नो संलग्नताका सन्दर्भमा इन्कारी बयान दिएको देखिन्छ।

संसद‍ विघटन, सेनाको मुख्यालयमा भएको वार्तालगायतका घटनामा उनले राष्ट्रपति र सेनापतिलाई इंगित गर्दै उनीहरुकै आग्रहमा आफूले समन्वयकारी भूमिका खेलेको बताएका छन्। ‘सम्पूर्ण क्षतिको जिम्मेवारी तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ’ उनले बयानमा भनेका छन्। 

सिंहदरबार जलेको विषयमा उनले केही नलेखेको दाबी  गरेका छन् । ‘काठमाडौं महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदै गर्दा अनावश्यक रोकेपछि विरोधस्वरुप मेटाफोरका रुपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा जलाई दिन्छु शब्द प्रयोग भएको थिएन’ कार्की आयोगको प्रतिवेदनमा उल्लेख छ। तर उनले सिंहदरबार जलाईदिन्छु भन्दै लेखेको स्टाटस जताजतै भाइरल छ। 

२५ गते ‘संसद विघटन हुनुपर्छ र सेनासँग वार्ता हुनुपर्छ’ भन्ने उनी कार्की आयोगका प्रतिवेदनमा भने कहीँ कतै दोषी देखिँदैनन्। कार्की आयोगले सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतलगायतका संरचना जलाउन केमिकलयुक्त पदार्थको प्रयोग भएको भनेको छ तर त्यो कसले गर्यो भनेको छैन।

प्रहरीका प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई कारबाही सिफारिस गरेको आयोग सेना प्रमुखको भूमिकाका बारेमा भने चुपचाप छ। 

काठमाडौँ महानगरको मेयर निर्वाचित भएयता बालेनले यसबीचमा पटकपटक सेना प्रमुख अशाेकराज सिग्देललाई भेटेका छन्। २३ र २४ को आन्दोलनपछि उनकै आह्वानमा राष्ट्रपति कार्यालयमा हुनुपर्ने वार्ता सेनाको मुख्यालयमा भयो।

बयानमा उनले भनेका छन्, ‘राष्ट्रपतिलाई सहयोग गर्न त्यो भूमिका खेलेँ।’ राष्ट्रपतिलाई सघाएका मेयरले सेनाको मुख्यालयमा गएर वार्ता गर भन्नुको तात्पर्य केहो ? आन्दोलनमा मेरो समर्थन नै छैन  भन्नेले आन्दोलनपछिकाे राजनीतिक घटनाक्रममा किन हस्तक्षेपकारी भूमिका खेले ? कार्की आयोग यो विषयमा पनि मौन देखिन्छ। 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेल तोडेर भागेको विषय पनि यतिबेला चर्चामा छ। कार्की आयोगले आफैँ भनेको छ-’रवि जेलबाट निस्केपछि देशभरका १४ हजार कैदीबन्दी जेल तोडेर भागे।’

अर्थात् १४ हजार कैदीबन्दी जेल तोडेर भाग्ने घटनाको नाइके रवि लामिछाने हुन्। त्यतिबेला भागेका अधिकांश कैदीबन्दी अहिले पनि सरकारको नियन्त्रण बाहिर छन्। उनी जेलबाट भागेपछि अधिकांश ठाउँमा प्रहरीका हात हतियार लुट्ने काम भएको छ।

आन्दोलनमा लुटिएका कति हतियार अझै पनि फिर्ता भइसकेकाे छैन । तर कार्की आयोग रवि लामिछानेलाई हुनुपर्ने कारबाहीको बारेमा केही बोलेको छैन। 

‘भाद्र २४ गते निज रवि लामिछानेलाई छोड्नुपर्ने जिकिर गर्दै प्रदर्शनकारीहरू दिउँसो अन्दाजी १५ः३० बजेतिर नख्खु कारागारको मूल गेट अगाडि जम्मा भई भिड बढ्दै गई सो भिड कारागार परिसरमा प्रवेश गरी रवि लामिछानेलाई छोड्न कारागार प्रशासनलाई दबाब दिन थाले,’ कार्की आयोगको प्रतिवेदनमा भनिएको छ, ‘उक्त भिडले कारागारमाआक्रमण गर्ने डर त्रासले सो कारागारका प्रमुखले रवि लामिछानेको सुरक्षार्थ बन्दी कोठा भित्रबाट झिकी कारागार परिसरको मानसिक अस्पतालमा ल्याए । भिड बढ्न थालेपछि रवि लामिछानेले भिडलाई शान्त रहन पटक-पटक आग्रह गर्दै यस्तो परिवेशमा कारागार र यहाँका कर्मचारीहरूलाई बचाउने मेरो पनि जिम्मेवारी हो भनेपछि प्रहरीले रवि लामिछानेलाई कारगार परिसरभित्रै रहेको भिडसमक्ष प्रस्तुत गरे’ जेलरले आयोगसमक्ष दिएको बयानमा उल्लेख छ। 

रविलाई नख्खु कारागारबाट निकालिएपछि देशभरका कारागार तोड्ने काम भएको प्रतिवेदनमा उल्लेख छ । 

‘भिडले रवि लामिछानेलाई बाहिर लग्न खोज्दा न्यायिक हिरासतमा बसेकाले कारागार प्रशासनको अनुमतिपत्र नभई बाहिर नजाने भनेपछि निजका समर्थकले सो कारागारका कारागार प्रमुखसँग रवि लामिछानेलाई कारागारबाट बाहिर छोडिएको भन्ने विषयमा आधिकारिक पत्र लिई निज रवि लामिछाने कारागारबाट छुटेको भन्ने आयोगको छानबिनबाट देखिएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘रवि लामिछाने बाहिर निस्किएको केही समयपछि ठूलो भिड आई जेलमा आक्रमण गरी कैदीहरूलाई बाहिर निकाल्ने कार्य भएको देखिन्छ । यो समाचार सामाजिक सञ्जालमा प्रेषित भएपछि काठमाडौंलगायत देशका अन्य भागमा पनि जेल आक्रमणको सिलसिला सुरु भयो । नख्खु कारागारको घटनापछि अन्य ठाउँहरूमा पनि जेल तोडफोड गर्ने, आगजनी गर्ने र कैदीबन्दी भगाउने तथा कैदीबन्दी आफैँ भाग्ने कार्य भएको संकलित प्रमाणबाट देखिन्छ ।’

लामिछानेलाई जेलमुक्त गराउन नख्खु कारागार पुगेको भिड को हो ? यो विषयमा पनि कार्की आयोगले केही भनेको छैन। 

तर कार्की आयोगले भदौ २३ गते १९ जनाको ज्यान जानेगरी भएको नरसंहारको जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याललगायतका उच्चपदस्थ सरकारी अधिकारीलाई ठहर्‍याएकाे छ । 

अधिकांश सरकारी अधिकारीलाई जिम्मेवार ठहर्‍याएकाे आयोगले २४ भदौको विध्वंशको छानबिन गर्ने जिम्मा सरकारको भागमा पारेको छ। 

२४ भदौको  विध्वंशको जिम्मेवार अब बन्ने प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र उनकाे दल रास्वपा हुने भनिएकाे छ। तर नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा लगायतका दलहरूले प्रतिवेदन एकपक्षीय भए नस्वीकार्ने बताइसकेका छन्।  

२३ र २४ भदौको घटनामा सेना, रास्वपा, बालेन, रविलगायतका व्यक्तिहरुको भूमिकाबारे जनस्तरमा प्रश्न उठ्ने गरेको छ। यी सवालमा मौन रहेको कार्की आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेर कार्यान्वयनको चरणमा गयो भने के होला ? पछिल्ला केही दिनका घटनाक्रम र सार्वजनिक सूचनाहरुले देशभर चर्चा हुने गरेको छ।  

घुँडाभन्दा तल लक्षित रबरको गोली’ चलाउन आदेश दिएको तत्कालीन सिडियो रिजालको दाबी

काठमाडौं । जेन–जी आन्दोलन (भदौ २३-२४) का घटनाबारे बयान दिने क्रममा जिल्ला प्रशासन काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल ले आफूले ‘घुँडाभन्दा तल लक्षित रबरको गोली’ चलाउन मात्र मौखिक आदेश दिएको स्पष्ट पारेका छन्।

तर, अन्तिम बल अर्थात् सिधै गोली चलाउने आदेश भने आफूले कहिल्यै नदिएको उनको दाबी छ।

आयोगलाई दिएको बयान प्रतिवेदनमा उद्धृत छ। रिजालले तनावपूर्ण अवस्थाको क्रममा प्रहरीको रेडियो सेटमार्फत तत्कालीन प्रहरी महानिरीक्षक र काठमाडौं उपत्यका प्रहरी कार्यालय का निमित्त प्रमुखबाट ‘आवश्यकता अनुसार अवस्था नियन्त्रणमा लिन फायर खोल्नु’ भन्ने आदेश आएको सुनेका थिए।

‘मबाट रबरको गोली प्रयोग गर्न निर्देश भए पनि प्रत्यक्ष फायर खोल्ने आदेश दिइएको थिएन। स्थिति बिग्रिँदै जाँदा माथिल्ला प्रहरी अधिकारीहरूबाट फायर खोल्नू भनेर आदेश आएको सुनेको मात्र हुँ।’रिजालले बयानमा भनेका छन्। 

रवि भगाउन उनका पीए आचार्य र जेलर जोशीबीच अघिल्लै दिन फोनसम्पर्क भएको पुष्टी

काठमाडौं । भदौ २४ गते उत्पन्न राज्यविहीनताको अवस्थालाई उपयोग गर्दै जेलबाट निकालिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने का प्रमुख स्वकीय सचिव अविनाश आचार्य र जेलर सत्यराज जोशीबीच घटनाअघि नै फोन सम्पर्क भएको तथ्य सार्वजनिक भएको छ।

जेन-जी घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको अध्ययनका क्रममा यी विवरण फेला परेका हुन्। आयोगको प्रतिवेदनअनुसार भदौ २३ र २४ दुवै दिन जोशी र आचार्यबीच दुई पटक टेलिफोन वार्ता भएको पुष्टि भएको छ।

यससँगै, प्रतिवेदनमा जेलर जोशीले भदौ २४ गते मात्रै गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले लाई ६ पटक फोन सम्पर्क गरेको उल्लेख छ। त्यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारीले जोशीलाई भदौ २७ गते एक पटक फोन गरेको तथ्य पनि प्रतिवेदनमा समावेश गरिएको छ।

कांग्रेसले १६ देखि १८ असोजमा १५ औँ महाधिवेशन गर्ने

काठमाडौं । नेपाली नेपाली कांग्रेस को केन्द्रीय समिति बैठकले १५औँ महाधिवेशनको मिति फेरबदल गरी पुनः पारित गरेको छ। 

पहिले भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव रहेकोमा नयाँ निर्णय अनुसार महाधिवेशन असोज १६ देखि १८ गतेसम्म सञ्चालन हुनेछ भन्ने जानकारी पार्टी प्रवक्ता देवराज चालिसेले दिएका छन्।

उनका अनुसार पार्टीको वडा अधिवेशन भने आउने भदौ ३ गतेदेखि सुरु हुने छ। महाधिवेशनको मुख्य कार्यक्रम काठमाडौं मा आयोजना गरिने छ।

सेनाको सहयोग समयमै नहुँदा देश जल्यो

काठमाडौं । नेपाली सेनाको असहयोगले २४ भदौमा देश जलेको तथ्य सार्वजनिक भएको छ । यो तथ्य गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।
आयाेगले सेनाकाे भूमिकामाथि पनि प्रश्‍न उठाएकाे छ ।
‘सामान्यतया सेनाको स्थानीय प्रतिनिधि पनि जिल्ला सुरक्षा समितिमा रहने व्यवस्था स्थानीय प्रशासन ऐनको दफ ६(७) मा रहेको र कर्फ्यु लागेपछि सेना परिचालन भई शान्ति सुरक्षामा सहयोग पुग्ने गरेको विगतको प्रचलनले देखाउँछ । २०४६ सालमा पनि प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेपछि सेना परिचालन भएको इतिहास छ । करिब ९ दिन चलेको त्यस घटनामा पनि १९ जना व्यक्तिले ज्यान गुमाएका थिए । २३  भदौको घटनामा सेनाको यथेस्ट सहयोग किन प्राप्त भएन भन्ने प्रश्न अनुत्तरित नै रहेको छ ।’
प्रतिवेदनमा २४ भदाैमा कर्फ्यु आदेश जारी भएपछि पनि सेना परिचालन नभएकाे भनिएकाे छ । ‘दोस्रो दिन २४ भदौमा पनि कर्फ्यु जारी गरिएको थियो । त्यस दिन पनि सेना परिचलान भएन । फलस्वरुप नेपालले इतिहासमै नभोगेको देशभर आगजनी, लुटपाट र तोडफोडका घटनाहरू भए ’, प्रतिवेदनमा उल्लेख छ ।
सेनाकै निष्क्रिय भूमिकाले देश जल्न पुगेकाे भनिएकाे छ ।
‘देश अति कष्टकर समयबाट गुज्रिरहेको समयमा सेनाबाट शान्तिसुरुक्षा स्थापनामा ठूलो सहयोग पुग्ने जनअपेक्षा थियो तर सेनाबाट सहयोगसमयमै प्राप्त नुहँदा देशले ठूलो क्षति व्यहोर्नुपर्‍यो भन्ने जनगुनासो छ’, प्रतिवेदनमा छ ।

इनिशा विककाे बलात्कारपछि हत्या प्रकरण- मुख्य अभियुक्तलाई जन्मकैदको सजाय माग

काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्तविरुद्ध जन्मकैदको माग गरेको छ।

जिल्ला प्रहरी प्रमुख सुधीरराज शाहीका अनुसार घटनास्थलबाटै पक्राउ परेका मुख्य अभियुक्तसहित अध्यनरत एक जना किशोरविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा लगाइएको छ।

फागुन २३ गते बिहान ट्युसन जान निस्केकी इनिशा विक वीरेन्द्रनगर नगरपालिका–१ स्थित सामुदायिक वन पार्कमा मृत अवस्थामा फेला परेकी थिइन्।

पोष्टमोर्टम रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको पुष्टि गरेको छ। प्रहरी अनुसन्धानले मुख्य अभियुक्तले बलात्कार र हत्या दुबै कार्यमा प्रत्यक्ष संलग्न रहेको देखाएको छ। यस घटनालाई आधार मान्दै प्रहरीले कानुनी रूपमा मुख्य अभियुक्तविरुद्ध जन्मकैदको माग गरेको हो।

अनुसन्धान प्रतिवेदनअनुसार अन्य तीन किशोर घटनामा प्रत्यक्ष संलग्न नभए पनि बलात्कारपछि बेहोस भएकी इनिशालाई समयमै अस्पताल पुर्‍याउन नसकेको र सहयोग नगरेको कारण उनीहरूविरुद्ध पनि ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन माग गरिएको छ। चारै जना आरोपी १८ वर्षभन्दा कम उमेरका भएकाले प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन।

एसपी शाहीका अनुसार प्रहरीले डिएनए, मोबाइल ट्याप, फरेन्सिक र टक्सिकोलोजीसम्बन्धी रिपोर्टहरू प्राप्त नगरेको अवस्थामा पनि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको हो।

केही परीक्षण नेपालमा गर्न सम्भव नभएर नमूना विदेश पठाइएको छ। यी रिपोर्ट प्राप्त भएपछिको अध्ययनले इनिशाको मृत्युको कारण थप स्पष्ट हुने बताइएको छ।

जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका प्रमुख कर्णबहादर महतले प्रहरी प्रतिवेदन अध्ययनको प्रक्रिया जारी रहेको जानकारी दिए । प्रतिवेदनको समीक्षापछि अदालतमा पेश गरी अभियुक्तविरुद्धको मुद्दा औपचारिक रूपमा तय गरिनेछ।

बालेनकाे इन्कारी बयान- ‘सिंहदरबार जलाउँछु’ लेखिनँ, बरु जल्दा आगाे निभाउन दमकल पठाएँ

काठमाडौं । जेन-जी विद्राेहकाे बेला बालेन्द्र शाह (बालेन)ले  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलको आग्रहमा आन्दोलनलाई शान्त पार्न भूमिका खेलेको दाबी गरेका छन् ।

उनकाे याे दाबी गाैरीबहादुर कार्की आयाेगकाे जाँचबुझ प्रतिवेदनमा उल्लेख छ ।

उनले २४ भदौको आगजनी नियन्त्रणका लागि महानगरले समयमै दमकल पठाएको दाबी गरेका छन् । महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रणमा लिएको समेत उनकाे जिकिर छ ।

२३ र २४ गतेकाे घटनाक्रमबारे जानकारहरुले बालेनकाे याे बयानलाई पत्याउँदैनन् । किनभने सिहदरबार, सर्वाेच्च अदालतलगायत सरकारी संरचना तीन दिनसम्म जलिरहँदा बालेनले दमकल पठाएका थिएनन् ।

बरु ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले दमकल पठाएका थिए । त्यसाे हुँदा उनले आयाेगसमक्ष दिएकाे बयान र वास्तविकताबीच तालमेल खाँदैन।

यति मात्र हाेइन, उनले आयाेगसमक्ष विगतमा सामाजिक सञ्जालमा लेखेको विवरणबारेसमेत ढाँटेका छन् । ‘सिंहदरबार जलाउने’ भन्ने विगतमा लेखिएकाे स्टाटसबारे आयाेगले साेध्दा उनले भनेका छन्,  ‘काठमाडौं महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदै गर्दा अनावश्यक रोकेपछि विरोधस्वरुप मेटाफोरका रुपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा जलाई दिन्छु शब्द प्रयोग भएको थिएन ।’

प्रधानमन्त्रीका रुपमा बालेनकाे शपथ ग्रहण १३ गते साढे १२ बजे तय

काठमाडौं । नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले शपथ ग्रहण गर्ने मिति र समय तय भएकाे छ ।

उनले यही चैत १३ गते  शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने तय भएको हो ।

उनले भाेलि १२ चैतमा प्रतिनिधिसभा सदस्यकाे रुपमा शपथ ग्रहण गर्नेछन् । त्यसपछि नयाँ प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्ने भएका हुन् ।

त्यसपछि उनले सिहदरबार पुगेर दिउँसो सवा २ बजे पद तथा पदभार ग्रहण गर्नेछन् ।

 

जेन-जी विद्राेह षड्यन्त्र हाे- शेरबहादुर देउवा

काठमाडौं । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले ‘जेन–जी’ विद्रोहलाई नितान्त षड्यन्त्र भएको बताएका छन् ।

उनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष यस्तो बयान दिएका हुन् । उनले आफ्नो घटना षड्यन्त्रपूूर्वक भएको तर कसले गरेको भन्ने थाहा नभएको पनि बताए ।

मिडियाबाट सार्वजनिक जेन–जी प्रतिवेदनमा भनिएको छ, ‘प्रहरी कार्यालयमा रिपोर्ट गरेको थिएन । यो नितान्त षड्यन्त्र हो, तर कसले गर्‍यो ? थाहा भएन । तर मेरो निवासमा भएको तोडफोड, आगजनी र लुटपाट सम्बन्धमा नेपाल प्रहरीले मुचुल्कालगायतका विवरण लगेको हो, र कारबाही सम्बन्धमा जानकारी छैन । मैले राजनीतिक हस्तक्षेप, पक्षपात गरेको छैन र २३–२४ गतेको घटनामा प्रहरीले आंकलन गर्न नसकेकोमा राजनीतिक हस्तक्षेप भएको भन्नेमा म सहमत छैन ।’

उनले विद्रोहको बेला घरमा के–के भयो भन्ने खुलाएका छैनन् ।

‘२०८२ भाद्र २३ गतेको दिन म बूढानीलकण्ठ वडा नं २ बासुकी मार्गस्थित मेरो निजीनिवासमा थिएँ, र सो दिन बेलुका वालुबाटारमा पनि उपस्थित भई मैले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेर तत्कालीन प्रधानमन्त्रीले हटाउनुभएको थियो तर म कुनै औपचारिक बैठकमा सहभागी थिइनँ । भदौ २४ गते बिहान १० बजे प्रदर्शनकारीहरू मेरो निजीनिवासमा भेला भई नाराबाजी गर्दा सुरक्षाकर्मीले रोक्दारोक्दै हामीमाथि हातपात भयो, र केही जेन–जीका युवाहरूले बचाए । हामी राति २२ बजेतिर सुरक्षित स्थान पुुग्यौँ ।’

उनले आफ्नो घरमा धेरै पैसा नभएको दाबी पनि गरेका छन् ।

‘नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा गरेको मुचुल्कामा मेरो निवासमा भेटिएको रकमबारे उल्लेख छ, ठूलो परिमाण थिएन । सामाजिक सञ्जालको विवरण एआई जेनेरेटेड हुनुपर्छ ।’

 

जेन-जी प्रतिवेदन : १४ हजार बढी कैदी फरार हुनुमा ‘रवि जिम्मेवार’

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागाबाट निकालिएपछि देशभरका जेल तोड्दै कैदीबन्दीहरू फरार हुने क्रम सुरु भएको निष्कर्ष निकालेको छ ।
सरकारले सार्वजनिक नगर्दै मिडियामा छ्यापछ्याप्ती बनेको आयोगको प्रतिवेदनमा रवि निकालिएपछि नै जेल तोड्ने र फरार हुने घटना भएको विवरण उल्लेख छ ।

‘भाद्र २४ गते निज रवि लामिछानेलाई छोड्नुपर्ने जिकिर गर्दै प्रदर्शनकारीहरू दिउँसो अन्दाजी १५ः३० बजेतिर नख्खु कारागारको मूल गेट अगाडि जम्मा भई भिड बढ्दै गई सो भिड कारागार परिसरमा प्रवेश गरी रवि लामिछानेलाई छोड्न कारागार प्रशासनलाई दबाब दिन थाले । उक्त भिडले कारागारमा आक्रमण गर्ने डर त्रासले सो कारागारका प्रमुखले रवि लामिछानेको सुरक्षार्थ बन्दी कोठा भित्रबाट झिकी कारागार परिसरको मानसिक अस्पतालमा ल्याए । भिड बढ्न थालेपछि रवि लामिछानेले भिडलाई शान्त रहन पटक–पटक आग्रह गर्दै यस्तो परिवेशमा कारागार र यहाँका कर्मचारीहरूलाई बचाउने मेरो पनि जिम्मेवारी हो भनेपछि प्रहरीले रवि लामिछानेलाई कारगार परिसरभित्रै रहेको भिडसमक्ष प्रस्तुत गरे भन्ने जेलरको आयोगसमक्ष दिएको बयानमा उल्लेख गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।

रविलाई निकालिएपछि देशभरका जेल अशान्त भएको प्रतिवेदनमा उल्लेख छ ।

‘भिडले रवि लामिछानेलाई बाहिर लग्न खोज्दा न्यायिक हिरासतमा बसेकाले कारागार प्रशासनको अनुमतिपत्र नभई बाहिर नजाने भनेपछि निजका समर्थकले सो कारागारका कारागार प्रमुखसँग रवि लामिछानेलाई कारागारबाट बाहिर छोडिएको भन्ने विषयमा आधिकारिक पत्र लिई निज रवि लामिछाने कारागारबाट छुटेको भन्ने आयोगको छानबिनबाट देखिएको छ ।’

 

‘जेन-जीहरु फर्क, हामीले जित्याैँ’ भनेका बालेनले आयाेगले ढाँटेर भने- मेराे समर्थन थिएन (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले गत २३ भदौमा भएको जेन-जीको विद्राेहमा आफ्नाे समर्थन नरहेकाे बताएका छन् ।

तर, र्‍यालीमा  भने आफ्नो समर्थन रहेको बताएका छन् । उनले गाैरीबहादुर कार्की नेतृत्वकाे आयाेगलाई भनेका छन्, ‘२०८२ साल भाद्र २३ र २४ गते म सरकारीनिवास लैनचौरमा थिएँ ।

२३ गतेको शान्तिपूर्ण र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन ।’

व्यवसायी र रेस्टुरेन्टले आग्रहपछि महानगर प्रहरीले पानी वितरण गरेको उनको दाबी छ । तर, २४ गतेकाे आन्दाेलनमा उनले २ बजेतिर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि आन्दाेलनकारीहरुलाई भनेका थिए ‘जेन-जीहरु फर्क, हामीले जित्याैँ ।’

साेही राति उनले प्रतिनिधिसभा विघटन गर्नुपर्ने र सेनासँग वार्ता गर्नुपर्ने एजेण्डा अघि सारेका थिए । तर, आयाेगसमक्ष भने उनले ढाँटेकाे पाइएकाे हाे ।

 

बालेन भन्छन्,- ‘२३ भदौको आन्दोलनमा समर्थन थियो संलग्नता थिएन’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह ले गत २३ भदौमा भएको जेन-जी र्‍यालीप्रति आफू सकारात्मक रहेको स्पष्ट पारेका छन्। जेन-जी घटनाको छानबिनका लागि गठित, गौरीबहादुर कार्की नेतृत्वको आयोगका समक्ष दिएको बयानमा शाहले र्‍यालीका मूल्य-मान्यता र अभिप्रायप्रति आफ्नो समर्थन रहे पनि सक्रिय रूपमा आन्दोलनमा भने संलग्न नभएको बताएका छन्।

उनको भनाइअनुसार घटनाका दिन अर्थात् भदौ २३ र २४ मा उनी सरकारी निवास लैनचौरमै रहेका थिए। ‘२३ गतेको शान्तिपूर्ण र्‍यालीका उद्देश्य प्रति मेरो समर्थन थियो, तर म प्रत्यक्ष रूपमा आन्दोलनमा थिएन,’ बयानमा उल्लेख छ। आफ्नो स्थितिबारे असमझदारी फैलिन नदिन उनले समर्थन र सहभागिताबीचको स्पष्ट भिन्नता आयोगलाई व्याख्या गरेको देखिन्छ।

शाहले सो घटनाक्रममा काठमाडौं महानगरपालिकाको भूमिकाबारे पनि स्पष्टीकरण दिएका छन्। उनका अनुसार व्यवसायी र रेस्टुरेन्ट क्षेत्रका प्रतिनिधिहरूको आग्रहपछि मात्रै महानगर प्रहरीले र्‍यालीको भीडमा पानी वितरण गरेको हो। उनले यसलाई मानवीय र व्यवस्थापकीय जिम्मेवारीका दृष्टिले गरिएको सहयोग मात्र भएको दाबी गरेका छन्।

अहिले भदौ २३ र २४ को घटनाको जाँचबुझका लागि बनेको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने चर्चा भइरहेको छ। यसैबेला बालेनले छानबिन आयोगलाई दिएको बयानको केही अंश सार्वजनिक भएको हो। 

के ओली, लेखक र खापुङकाे गिरफ्तारी हाेला ? (भिडियो)

काठमाडौं । भदौ २३ र २४ गते भएको ‘जेन-जी विद्रोह’सँग सम्बन्धित घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,  तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध गम्भीर कानुनी प्रश्न उठाएको छ।

प्रतिवेदनमा तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ अन्तर्गत कारवाहीका लागि सिफारिस गरिएको उल्लेख छ।

‘कार्यकारी प्रमुख तत्कालीन प्रधानमन्त्री श्री केपी शर्मा ओली,तत्कालीन गृहमन्त्री श्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक श्री चन्द्रकुबेर खापुङसहित उहाँहरु तीन जनालाई मुलुकी अपराध संहिता,२०७४ को दफा १८१ को उपदफा (१) र सोही संहिता, २०७४ को दफा १८२ अनुसार कसूर हेरेर अनुसन्धान,तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिेश गरी पठाउने निर्णय गरियो,’ सिफारिसमा भनिएको छ ।

आयोगले उनीहरूलाई लापरवाहीपूर्ण कार्य तथा हेलचेक्र्याइँका कारण मानवीय क्षति भएको निष्कर्षसहित अनुसन्धान र अभियोजन प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेको हो।

मुलुकी अपराध संहिता २०७४ को अपराध सँहिताको दफा १८१ र १८२  उल्लेख गरेर अधिकतम १० वर्ष कैद सजाय माग गर्दै कारवाही प्रक्रिया अघि बढाउन सिफारिस गरिएको हो ।

प्रतिवेदनअनुसार, घटनाका बेला राज्य संयन्त्रको नेतृत्वमा रहेका यी तीन पदाधिकारीले आवश्यक सतर्कता, समन्वय र नियन्त्रणमा कमजोरी देखाउँदा हिंसा बढेको ठहर गरिएको छ। त्यसले परिस्थितिलाई नियन्त्रणबाहिर लैजान सहयोग पुगेको आयोगको निष्कर्ष छ।

आयोगले विशेष रूपमा ‘कर्तव्यपालनमा लापरवाही’ र ‘सम्भावित जोखिमप्रति बेवास्ता’ भएको औंल्याएको छ। प्रतिवेदनमा उल्लेख गरिएअनुसार, सुरक्षा व्यवस्थापन र भीड नियन्त्रणमा प्रभावकारी निर्णय लिन नसक्दा घटनाले ज्यानमालको क्षति निम्त्याएको ठानिएको छ।

यो सिफारिसअनुसार मुद्दा चलाउने हो भने पूर्वप्रधानमन्त्री,गृहमन्त्री र आइजीलाई गिरफ्तार गर्नुपर्ने हुन्छ । जसका कारण राजनीतिक वृत्तमा खैलाबैला शुरु भएको छ, र प्रतिक्रिया आउन थालेको छ ।

 

रविलाई अमेरिकाको बधाई

काठमाडौं। अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बधाई दिएको छ।

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी विशेष दूत सर्जीओ गौरले टेलिफोनमार्फत रास्वपा अध्यक्ष लामिछानेलाई चुनावी सफलताका लागि शुभकामना दिएका हुन्।

नेपालस्थित अमेरिकी राजदुतावासका अनुसार विशेष दूत गोरले चैत १० गते फोन गरी निर्वाचनमा रास्वपाले हासिल गरेको परिणामबारे बधाई व्यक्त गरेका हुन्।

दूतावासले फेसबुक मार्फत जारी गरेको सन्देशमा भनिएको छ, ‘अमेरिका नेपालका नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी मजबुत बनाउन तथा दुई देशबीचको मित्रता अझ प्रगाढ बनाउन उत्सुक छ।’

केसीले सम्हाले पदभार, संसद् बैठक निष्पक्ष भएर चलाउने प्रतिज्ञा (भिडियो)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलसँग पद तथा गाेपनीयताकाे शपथ ग्रहणपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन् ।

केसीले बिहीबार भावी प्रधानमन्त्री बालेन्द्र साहसहित प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् । ७८ वर्षे केसी गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका थिए ।

उनले सभामुख निर्वाचित नहुँदासम्म प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् ।

केसीले पदभार ग्रहण गरेपछि संसद् बैठक निष्पक्ष र तटस्थ भएर सञ्चालन गर्ने बताएका छन् । उनले कोही कसैको दुष्मन नभएको भन्दै निर्वाचनबाट प्राप्त जनादेशको रक्षा गर्दै देशलाई समृद्ध बनाउने नै कर्तव्य भएको बताए ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।

तीन ठाउँमा दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । मुलुकका तीन जिल्लामा भएका पृथक–पृथक सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। धनुषा, पर्सा र मकवानपुरमा भएको दुर्घटनासम्बन्धी जानकारी नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले सार्वजनिक गरेको हो।

धनुषा:
धनुषाको औरही गाउँपालिका-१ पौडेश्वरस्थित सडकमा देउरीबाट तारापट्टीतर्फ जाँदै गरेको मधेश प्रदेश–०२–००९ प ०८१८ नम्बरको मोटरसाइकलबाट खसेकी मिथिला बिहारी नगरपालिका-७ तारापट्टीकी ३६ वर्षीया शिला देवी साहको मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएकी साहको जनकपुरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।

पर्सा:
पर्साको वीरगञ्ज महानगरपालिका-१७ मा जेएच २ बिक्यू ६९१९ नम्बरको ट्रक र बीआर २२ एजेड ३११८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक, स्थानीय ३० वर्षीय ईतियाज अंसारीको मृत्यु भएको छ।
गम्भीर घाइते अंसारीले नारायणी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाए। मोटरसाइकलमा सवार थप एक जना घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

मकवानपुर:
मकवानपुरको बकैया गाउँपालिका-११ घट्टेपाखास्थित सडकमा हेटौंडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.८ ख ८७६० नम्बरको ट्रक गए राति अनियन्त्रित भई दुर्घटना हुँदा पर्सा वीरगञ्ज–३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको छ।
गम्भीर घाइते यादवको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको जानकारीमा उल्लेख छ। ट्रक चालक भने थप उपचारका लागि चितवन पठाइएको छ।

तीनै सडक दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

गगन थापाको रोजाइ आङ्देम्बे कि ससुरा केसी ?

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेले दाबी प्रस्तुत गरेका छन्।

लामो समयदेखि राजनीतिमा सक्रिय आङ्देम्बे संसदीय राजनीतिको अनुभवी नेताका रूपमा चिनिन्छन्।

२०७० सालको संविधानसभा सदस्य रहिसकेका आङ्देम्बे यसपटक प्रतिनिधिसभामा पुगेका पूर्वपदाधिकारीमध्ये एक्ला नेता हुन्।

उनले उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिको सभापतिका रूपमा समेत काम गरिसकेका छन्।

साढे चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय उनी संसदीय दलको नेतृत्वका बलिया दाबेदारका रूपमा हेरिएका छन्।

संसदीय अभ्यास र प्रक्रियामा दख्खल राख्ने आङ्देम्बेलाई पार्टी सभापति गगन थापाले पनि नेतृत्वमा अघि सार्न सक्ने चर्चा छ।

तर, संसदीय दलको नेतृत्वका लागि अर्का अनुभवी नेता अर्जुननरसिंह केसी पनि प्रतिस्पर्धामा छन्।

केसी, सभापति थापाका ससुरासमेत भएकाले यो प्रतिस्पर्धाले थप राजनीतिक चासो पैदा गरेको छ ।