`

धनकुटामा माइक्रो दुर्घटना : एकको मृत्यु, १४ जना घाइते (नामावली)

धनकुटा । काठमाडौंबाट खाँदबारी जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गमा अन्तर्गत धनकुटाको पाख्रिबास नगरपालिका–५, भैँसेमा बा.४ ख ५५०२ नम्बरको सप्तकोसी हाइस अनियन्त्रित भई सडकबाट करिब ६०–७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी संखुवासभा, सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेतीको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल धनकुटामा प्रारम्भिक उपचारपछि गम्भीर अवस्थाका दुई घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यी हुन् घाइते

– प्रहरी जवान सुजता गिरी (धनकुटा महालक्ष्मी–३) : मेरुदण्डमा चोट ।
– सगिता राई (संखुवासभा सिलिचुङ–३) : बाहिरी चोट नदेखिएको, अवस्था सामान्य ।
– नरेन्द्र राई ः बाहिरी चोट नदेखिएको, अवस्था सामान्य ।
– लमु शेर्पा (संखुवासभा पाँचखपन–९) : टाउकोमा चोट, अवस्था मध्यम ।
– निर्जला राई (उदयपुर लिम्चुङबुङ–१) : दाहिने खुट्टामा चोट, अवस्था मध्यम ।
– बिनिता राई (११ वर्ष) : टाउकोमा चोट, अवस्था मध्यम ।
– जेसन राई (१४ वर्ष) : बाहिरी चोट नदेखिएको, अवस्था सामान्य ।
– सन्त बहादुर तामाङ (सिन्धुली) : दाहिने खुट्टामा चोट, अवस्था मध्यम ।
– पासाङ शेर्पा (भोजपुर सिलिचुङ–५) : टाउकोमा चोट, अवस्था मध्यम ।
– रत्नबहादुर विक (खाँदबारी–७) : शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर, धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) रेफर ।
– दिपेन्द्र बुढाथोकी (हाइस चालक, ठेगाना नखुलेको) : शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर, घोपा रेफर ।

 

सिमरामा जेनजी कुटेको आरोपमा एमालेका अरबिन्द साह पक्राउ

काठमाडौं । बाराको सिमरामा जेनजी युवालाई कुटेको आरोपमा नेकपा एमालेका कार्यकर्ता अरबिन्द साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई बिहीबार साँझ पक्राउ गरिएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले जानकारी दिए । जेनजी कुटेको आरोपमा यसअघि नै एमालेबाट निर्वाचित जितपुर सिमरा उपमहानगरपालिकाका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अन्सारीलाई पक्राउ गरेको थियो ।

गएको बुधबार एमालेले सिमरामा गर्न लागेको कार्यक्रमका क्रममा जेनजी र एमाले कार्यकर्ताबीच झडप हुँदा त्यहाँको अवस्था असामान्य बनेको थियो । बुधबार एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा आउने थाहा पाएपछि जेनजीले प्रदर्शन गरेका थिए । जेनजीको विरोध प्रदर्शनपछि दुवै नेता सिमरा जान नसकी काठमाडौँमै रोकिएका थिए । विरोध प्रदर्शनको क्रममा स्थानीय एमाले कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेका थिए ।

स्थानीय जेनजी अगुवा सम्राट भनिने साइकुस उपाध्यायले उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा बुधबार जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जेनजीको मुख्य माग कुटपिटमा संलग्न साहलाई पक्राउ गर्नुपर्ने थियो । उनीहरुलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गर्दै जेनजीले बिहीबार पनि सिमरामा प्रदर्शन गरेका थिए । आज भने अहिलेसम्म सिमराको अवस्था सामान्य छ । अवस्था सामान्य बन्दै गएकाले गए राति ८ बजेदेखि सिमरामा कफ्र्यु आदेश थप नगरिएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।

काठमाडौँको खुला मञ्च सर्वसाधारणका खुला गर्ने तयारी (तस्वीरहरु)

काठमाडौं । काठमाडौँको खुलामञ्च अहिले पुनःजागरणको अन्तिम चरणमा पुगेको छ । प्राकृतिक दुबोसहितको हरियाली चौर, वरिपरि बनेको खुला पैदल मार्ग र समग्र क्षेत्रमा गरिएका पूर्वाधार सुधारका काम पूरा हुँदै गएसँगै खुलामञ्च अब छिट्टै सर्वसाधारणका लागि सधैंका लागि खुला गर्ने तयारीमा छ । अहिले शौचालय निर्माण र सिसीटिभी क्यामेरा जडानको काम मात्र बाँकी छ, साथै केही सरसफाइसम्बन्धी अन्तिम काम भइरहेको छ ।

चौरको १४ हजार ६ सय वर्गमिटर क्षेत्रमा नेपाली प्राकृतिक दुबो रोपिएको छ । पहिलेकै उबडखाबड जमिन मिलाएर मलिलो माटो राखी दुबो रोपिएकाले अहिले खुलामञ्चको हरियाली निकै लोभलाग्दो देखिन्छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सञ्चालन गरेको खेलकुद पूर्वाधार मर्मत, सुधार तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत यो कार्य सम्पन्न भएको हो । महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधार विकासका लागि छुट्याइएको ६ करोड ९८ लाख ७० हजार रुपैयाँमध्ये करिब ९० लाख रुपैयाँ खुलामञ्चको चौरमा दुबो रोप्न खर्च गरिएको थियो ।

चौर वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग बनाइएको छ, जसका लागि शहरका अन्य स्थानहरूको स्तरोन्नति क्रममा निकालिएका हेक्सागोनल ब्लकहरू पुनःप्रयोग गरिएको हो । पैदल मार्गमा २१ वटा बिजुलीका पोल जडान गरिएको छ, जसमा न्युरोडबाट निकालिएका पोल पुनःप्रयोग गरिएको हो । यी पोलमा दुई आर्म छन्—मैदानतर्फ १०० वाटको बत्ती र पैदल मार्गतर्फ ३० वाटको बत्ती। दुवै बत्ती डे–नाइट सेन्सरयुक्त भएकाले रातमा आफै बल्छन् र दिनमा निभ्छन् । खुला मञ्चलाई सबैका लागि खुला र बहुउपयोगी स्थानका रूपमा विकास गरिएको छ । बिहान शारीरिक व्यायाम गर्ने, बालबालिकालाई स्वतन्त्र रूपमा खेल्ने, ज्येष्ठ नागरिकलाई हिँडडुल तथा आराम गर्ने, सहरी जीवन नियाल्ने र युवाहरूलाई खेल अभ्यास तथा मनोरञ्जन गर्ने ठाउँका रूपमा यसलाई तयार पारिएको हो । मर्निङ वाकका लागि पनि यो मार्ग विशेष रूपमा उपयुक्त बनाइएको छ ।

चौरको पश्चिमतर्फ मुख्यद्वार नजिकै गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ र बहुउपयोगी खुला स्थान बनाइएको छ । यस ठाउँमा भलिबल, ब्याडमिन्टन जस्ता खेल पनि खेल्न सकिने व्यवस्था छ । पूर्वाधार निर्माण र प्रविधिक परामर्शका लागि महानगरपालिकाले नेपाल सरकारको स्वामित्वको पूर्वाधार निर्माण कम्पनीसँग ०८१ वैशाख १० गते नीतिगत सहमति–पत्रमा हस्ताक्षर गरेको थियो । त्यसका आधारमा वैशाख २३ गते ग्रेडिङ र लेभलिङका लागि सम्झौता भयो र २४ गतेदेखि काम थालिएको थियो । काम पूरा भएपछि वर्षामा पानी नजम्ने र सतहको पानी जमिनभित्र पुनर्भरण हुने व्यवस्था मिलाइएको छ । चौरका ६ स्थानमा ४ फिट ब्यास र ४ फिट गहिराइ भएका वाटर रिचार्ज पिट बनाइएका छन् । त्यसपछि दैनिक ५० जनशक्ति परिचालन गरेर करिब तीन महिना ढुंगा टिप्ने तथा जमिन सफा गर्ने काम पनि गरिएको थियो ।

कुल २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रफलमा फैलिएको खुलामञ्च टुँडिखेलतर्फ २२० मिटर, रत्नपार्कतर्फ १९० मिटर, चौडाइमा प्राधिकरणतर्फ ११० मिटर र वीर अस्पतालतर्फ ११७ मिटर रहेको छ । काठमाडौँ टावर निर्माणसँगै केही समय खुलामञ्च सार्वजनिक यातायात र बसपार्कका रूपमा प्रयोग गरिएको थियो । त्यस्तै २०७२ को भूकम्पपछि क्षति भएका वीर अस्पताल र दरबार हाइस्कुल पुनर्निर्माणका क्रममा यो स्थान सामग्री ढुवानी, विद्यालय सञ्चालन र श्रमिक बासस्थानका रूपमा प्रयोग भएको थियो । अब भने यो ऐतिहासिक खुला स्थान आधुनिक, हरियालीयुक्त र सुरक्षित सार्वजनिक क्षेत्रको रूपमा पुनःस्थापित हुन तयार छ—शौचालय र सीसीटिभी जडान पूरा भएसँगै औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिनेछ ।
तस्वीरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

शान्ति सम्झौताको दुई दशक : पीडितलाई न्याय कहिले ?

काठमाडौं । विस्तृत शान्ति सम्झौताले नेपालमा दशक लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको घोषणा गरेको आज दुई दशक पूरा भएको छ । २०६३ मंसिर ५ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही दलका प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको सम्झौताले देशलाई संविधानसभा, नयाँ संविधान र लडाकू समायोजन जस्ता महत्वपूर्ण चरणतर्फ डोर्‍यायो ।

तर शान्ति प्रक्रियाको सबैभन्दा संवेदनशील पक्ष—सत्य निरुपण, बेपत्ता छानबिन र संक्रमणकालीन न्याय—अहिलेसम्म अधुरै छ । सम्झौतामा तोकिएको ६० दिनभित्र बेपत्ता र मृतकहरूको नामावली सार्वजनिक गर्ने प्रतिवद्धता २० वर्षसम्म पनि व्यवहारमा आउन सकेको छैन ।

बेपत्ता परिवारको नसेकिने छटपटी
ललितपुर ठेचोका नन्दगोपाल माली घर बाहिर निस्किएको २१ वर्ष बितिसक्दा पनि फर्किएका छैनन् । सुरक्षाकर्मीले लगेको भनिएका उनी आजसम्म बेपत्ता छन् । उमेरले तीन वर्षकी स्वस्तिमा र आठ वर्षकी नगमा बुबाको प्रतिक्षामा युवावस्थासम्म आइपुगे । हजुरआमाको मृत्युपछि एक–अर्काकै सहारा बनेका उनीहरू अझै पनि राज्यले उनका बाबुको बारेमा सत्य बताइदिओस् भन्ने आशामा छन् । स्वस्तिमाले सोधिरहन्छिन्, ‘आमा, हजुरबुबा–हजुरआमा सबै बितिसक्नु भयो । अब बुबा त फर्कनु हुन्छ कि ?’

उनी जस्तै हजारौं परिवार आज पनि उत्तरविहीन छन्, जबकि बेपत्ता र मानवअधिकार उल्लंघनका घटनामा आयोगहरूमा परेका उजुरी ८० हजार नाघिसकेका छन् । जबरजस्ती करणी र यौन हिंसासम्बन्धी उजुरी मात्रै करिब ४ हजार पुगेका छन् ।

आयोगहरू : गठन धेरै, काम कम
२०७१ मा बनेका बेपत्ता छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग करिब दुई दशकपछि पनि प्रभावकारी हुन सकेका छैनन् । दुई–दुई पटक आयोग फेरिए पनि उजुरी संकलनभन्दा अघि बढ्न नसक्ने अवस्था ज्यूँका त्यूँ छ ।

पीडितहरू आयोग गठनको शैलीमै शंका गर्छन्—राजनीतिक हस्तक्षेप, दलगत भागबण्डा र पीडितको सहभागिताविहीन संरचनाले न्याय सुनिश्चित हुनेमा उनीहरूको विश्वास कमजोर छ । आयोगका नयाँ पदाधिकारीहरू भने कार्यकाल सकिनुअघि नै प्रक्रियालाई टुंग्याउने दाबी गर्छन्, तर पीडितहरू निर्णायक काम सुरु नै नभएको गुनासो गर्छन् ।

५० अर्ब बढी खर्च, तर न्याय शून्य
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, क्षतिपूर्ति र सहायता वितरणमा सरकारले २० अर्ब बढी खर्चिसकेको छ । दुवै आयोगको सञ्चालनमै एक अर्ब २५ करोड खर्च भइसकेको छ । तर बलात्कार पीडित, यौनहिंसाबाट बचेका, घर–जग्गा जलेका वा तत्काल राहत नपाएका धेरै अझै ‘राज्यले हामीलाई छोएको छैन’ भन्छन् ।

राजनीतिक उदासीनता : सबैले जिम्मा छोडेको मुद्दा
शान्ति प्रक्रियालाई टुंग्याउन ढिलाइ हुनुको मूल कारण राजनीतिक इच्छाशक्तिको अभाव नै ठानिन्छ । माओवादीका नेताहरू भन्छन्—नेपाली कांग्रेस र एमालेले संक्रमणकालीन न्यायलाई आफ्नो स्वार्थअनुसार उपयोग गरे । कांग्रेस र एमालेका नेताहरू भन्छनु्—माओवादी नेतृत्वले जिम्मेवारीबोध गरेन, गम्भीर अपराधलाई सामान्यीकरण गर्न खोज्यो । अधिकारकर्मीहरू भन्छन्—नेताहरूले शान्ति प्रक्रियालाई आफ्ना राजनीतिक समीकरणको औजार बनाए ।
अन्तर्राष्ट्रिय समुदायले पनि पर्याप्त स्पष्टता र दवाब नदिन गुनासो छ । सारमा—मुद्दा सबैको हो तर जिम्मा कसैको होइन ।

के पूरा भयो, के बाँकी छ ?
शान्ति सम्झौताको तीन प्रमुख कार्यभारमध्ये
—संविधानसभा र संविधान जारी–पूरा
–लडाकू समायोजन र हतियार व्यवस्थापन–पूरा (बाल सैनिकको मुद्दा अपूरो)
–सत्य निरुपण, मेलमिलाप र बेपत्ता छानबिन–२० वर्षपछि पनि अपूरो
–सम्झौतामा ६० दिनभित्र बेपत्ताको विवरण सार्वजनिक गर्ने प्रावधान थियो ।
यही ६० दिन आज ७,३०० दिन नाघिसक्दा पनि सत्य बाहिर आएको छैन ।

कहाँ चुक्यौं ?
–आयोग गठनमा ८ वर्षको ढिलाइ
–ऐन संसोधनमा पुनः पुनः राजनीतिक बार्गेनिङ
–दोषीलाई उन्मुक्ति दिने मनसाय रहेको आशंका
–पीडितलाई केन्द्रमा राख्ने दृष्टिकोणको अभाव
–नेताहरूको सत्ता–केन्द्रित राजनीतिको दुष्चक्र
–अन्तर्राष्ट्रिय समुदायको अनिश्चित र कमजोर समर्थन
सत्य निरुपण आयोगका पूर्व अध्यक्ष डा. गणेश भट्ट भन्छन्, ‘राहत बाँडेर शान्ति प्रक्रिया टुंगिन्छ भन्ने गलत बुझाइ नै सबैभन्दा ठूलो समस्या हो ।’

अबको बाटो : समय थोरै, काम धेरै
सरकारले कात्तिकमा बेपत्ता तथा सत्य निरुपण कोष सञ्चालन नियमावली पारित गरेपछि केही काम अघि बढेको दाबी छ । चार वर्षे कार्यकालको सात महिना बितिसक्दा आयोगहरू उजुरी छानबिन, फाइल अद्यावधिक र फिल्ड अन्वेषणको तयारीमा छन् । तर जानकारहरू भन्छन्—कानूनी स्पष्टता, पर्याप्त स्रोत, राजनीतिक सहमति र पीडितको विश्वास बिना अब पनि प्रगति असम्भव जस्तै छ । सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व अध्यक्ष भट्टको भनाइ छ, ‘जेनजी आन्दोलनपछि शान्ति प्रक्रियाको विषय ओझेल परेको छ । सरकारको कडा सार्वजनिक प्रतिबद्धता आवश्यक छ ।’

२० वर्षपछि पनि एउटै प्रश्न : संक्रमणकालीन न्याय कहिले ? 
२०६३ मा युद्ध रोकिएको घोषणा भए पनि द्वन्द्वका घाउ बोकेका हजारौँ परिवार अझै भन्छन्, ‘हामीलाई न्याय कहिले ?’

 

काठमाडौंमा आज एमालेको र्‍यालीसहित कार्यक्रम : ओली प्रमुख अतिथि

काठमाडौं । नेकपा (एमाले) ले आज र भोलि काठमाडौंमा दुई वृहत कार्यक्रमको आयोजना गर्दैछ । आज बिहान ११ बजे एमालेको नेसनल भोलिन्टियर फोर्सले कार्की ब्यांक्वेट, बबरमहलमा एक विशेष कार्यक्रम गर्दैछ ।

यसअघि, फोर्सका सदस्यहरू बबरमहलमा भेला भई माइतीघर हुँदै पुनः बबरमहल र त्यहाँबाट बानेश्वरसम्म र्‍याली गर्ने कार्यक्रम तय भएको छ । यस कार्यक्रमको प्रमुख अतिथि पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रहने छन् । एमालेले यस कार्यक्रमका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई जानकारी गराइसकेको छ ।

यद्यपि, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार कार्यक्रमका लागि निवेदन प्राप्त भए पनि सोबारेको अनुमति अझै विचाराधीन अवस्थामै छ । प्रशासनको निर्णयले कार्यक्रमको स्वरूप र व्यवस्थापनमा केही फेरबदल आउन सक्ने सम्भावना छ । यसैगरी, यही शनिबार एमाले बागमती प्रदेश कमिटीले प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गर्ने भएको छ ।

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

काठमाडौं । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मा प्रकाशन गरिने जानकारी गराएको छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फारम भरी ‘एप्रुभ’ भएपश्चात ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भन्ने जानकारी यसअघि प्रणाली ध्वस्त हुनुअघि आउने गरेको थियो । अब सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने छ ।’

यसअघि यस्ता लाइसेन्सको जानकारी प्रणालीमार्फत ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भनेर सन्देश पठाउने गरिएको थियो । तर जेनजी आन्दोलनमा उक्त प्रणाली ध्वस्त भएको थियो । फेसबुक पेजमा विवरणसहितको नाम समावेश भएको अवस्थामा आवेदनहरू सक्कल राजस्व रसिद र पुरानो सवारी चालक अनुमतिपत्र लिई विभागमा उपस्थित हुन पनि विभागले अनुरोध गरेको छ ।

बारा घटना: जेनजीसँग वार्ताका लागि खेलकुदमन्त्री सिमरातर्फ

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता बाराको सिमरामा भएको तनाव मत्थर गर्न सिमरातर्फ लागेका छन् ।

मन्त्री गुप्ता बिहीबार साँझ सिमरा गएका उनको साथमा रहेका जेनजी अगुवा पुरुषोत्तम यादवले जानकारी दिए।  मन्त्री गुप्तासँग पुरुषोत्तमसहित हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र शिव यादव पनि साथमा छन्।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले वार्ताका लागि बोलाएपछि उनीहरू बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । जिल्ला सुरक्षा समितिको बैठक बसेर उनीहरूलाई वार्ताका लागि जिल्ला प्रशासन कार्यालय कलैयामा बोलाइएको हो।

जेनजीले भने वार्ताका लागि कलैया जान नसक्ने र जितपुर सिमरा उपमहानगरपालिकामा वार्ता हुनुपर्ने अडान लिएका छन्।

प्रमुख जिल्ला अधिकारी मिश्रले भने अहिले कमान्ड पोस्ट छोडेर आउन नमिल्ने र सदरमुकाम कलैया नै आउनुपर्ने प्रस्ताव गरेका छन्।   प्रदर्शनकारी र प्रशासन दुवैपक्षसँग जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले वार्ताका लागि सहजीकरण गरिरहेको बताएका छन्।

बुधबार जेनजी आन्दोलनका कारण सिमरा विमानस्थल दिनभर तनावग्रस्त थियो ।  नेकपा एमालेका महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेतसहितका नेता बारा आउने भएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरेर मुलगेट तोडफोड गरेका थिए । आफ्नो नेतालाई अवरोध गरेपछि एमालेका नेता कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि हातपात गरेका थिए।

सोही कारण सिमरामा दुई दिनदेखि तनावग्रस्त छ। त्यहाँ कर्फ्यू आदेश जारी गरिएको छ।

जेनजी आन्दोलनका कारण बुधवार बिहान एउटा बाहेक सम्पूर्ण उडान स्थगित भएको थियो । बुधबार उडान नभएर फर्किएका यात्रुहरूका लागि विमानस्थलले आज पठाएको छ ।

जेनजी प्रदर्शनकारीमाथि हातपात गरेको आरोपमा जितपुर सिमरा उपमहानगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारी पक्राउ परेका छन् । उनीहरूविरुद्ध ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

एमाले बैठकमा ईश्वर पोखरेलले भने- अध्यक्षमा मेरो दाबी रहन्छ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सचिवालय बैठकमा भावी अध्यक्षमा दाबी प्रस्तुत गर्दै प्रतिस्पर्धा गर्न तयार रहेको जानकारी गराएका छन् ।

बिहीबार बसेको सचिवालय बैठकमा उनले केपी ओलाई अहिलेको कार्यकालपछि बिदा हुन आग्रह गर्दै आफू अध्यक्ष लड्ने जानकारी गराएका हुन्। पोखरेलले  आफू जुनसुकै हालतमा पनि नेतृत्वमा लड्ने बताउँदै ओलीलाई अभिभावकत्व भइदिन समेत आग्रह गरे।

ओलीले ११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आग्रह गरे  । ओलीले नेतृत्व सर्वसम्मत चयन गरौँ भन्दै नत्र स्वस्थ प्रतिस्पर्धाका लागि तयार रहेको बताए ।

झलनाथ, माधव, भीम रावलहरूको उदाहरण दिँदै ओलीले विगतमा प्रतिस्पर्धाबाट हारेकाहरूले टुटफुट र पार्टी विभाजनसम्मको गतिविधि गरेको उदाहरण दिँदै एकढिक्का भएर जानुपर्ने अहिलेको अवस्थामा त्यस्तो नहोस् भन्दै सचेत गराएका छन् ।

“कसैले प्रतिस्पर्धा गर्नुहुन्छ भने पनि स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा बैठकमा छलफल भएको छ,” उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

नेकपा एमालेको ११औं महाधिवेशन यही २७ गतेदेखि काठमाडौँमा हुँदैछ। तेस्रोपटक अध्यक्षमा दोहोरिन लागेका ओली कुनै पनि हालतमा नेतृत्व छोड्ने अवस्थामा छैनन्।

 

एमाले महाधिवेशनका निम्ति ११ उपसमिति गठन (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले ११ औं महाधिवेशनका लागि ११ उपसमिति बनाएको हो ।

यस्तो छ उपसमिति

प्रतिनिधि व्यवस्थापन समिति
संयोजक : काशीनाथ अधिकारी
सचिव : माधव ढुंगेल

जनपरिचालन समिति
संयोजक : प्रदीप ज्ञवाली
सचिव : राजन भट्टराई

आवास व्यवस्थापन समिति
संयोजक : छविलाल विश्वकर्मा
सचिव :लालबाबु पण्डित

खाद्य व्यवस्थापन समिति
संयोजक : लेखाराज भट्ट
सचिव : भीष्म अधिकारी

यातायात व्यवस्थापन समिति
संयोजक : गोकर्ण विष्ट
सचिव : रचना खड्का

अतिथि सत्कार समिति
संयोजक : रघुवीर महासेठ
सचिव : महेश बर्तौला

स्वयम्सेवक परिचालन समिति
संयोजक : भानुभक्त ढकाल
सचिव : विनोद पाण्डे

प्रचार समिति
संयोजक : पद्मा अर्याल
सचिव :राजेन्द्र गौतम

मञ्च व्यवस्थापन समिति
संयोजक : विनोद श्रेष्ठ
सचिव : लोकबहादुर भण्डारी

स्वास्थ्य समिति
संयोजक : कृष्ण गोपाल श्रेष्ठ
सचिव : राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

आर्थिक समिति
संयोजक : विष्णु रिमाल
सचिव : विना श्रेष्ठ

 

मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौँ । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएका घटना जाँचबुझ गर्न गठित आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ ।

बिहीबार आयोगको कार्यालयमा बोलाएर अर्यालसँग बयान लिएको जाँचबुझ आयोगका प्रवक्तासमेत रहेका पूर्वएआईजी विज्ञानराज शर्माले बताए ।

मुख्यसचिव अर्यालसँगको सोधपुछ बिहीबार नै सकिएको आयोगले जनाएको छ ।

अवकाशपछि बयानका लागि बोलाउँदा सहुलियत दिएको सन्देश जाने भएपछि आयोगले मुख्यसचिव अर्याललाई पदमै रहेका बेला बोलाएको हो । अर्याल यसैसाता आवकाश हुँदैछन् ।

एमालेमा फर्किएका नेताहरू महाधिवेशन प्रतिनिधि बन्ने

काठमाडौं । नेकपा एमालेले ‘घर फर्क अभियान’ अन्तरगत पार्टीमा आएका नेताहरुलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘घर फर्क अभियानमा जोडिएका केन्द्रीय सदस्यलाई महाधिवेशन प्रतिनिधि बनाउने विशेष निर्णय भएको छ,’ ज्ञवालीले बैठकका निर्णयबारे जानकारी गराउँदै भने । नेकपा एसबाट रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरु एमालेमा फर्किएका थिए ।

एमालेको दशौं केन्द्रीय कमिटी बैठकले मंसिरको २७, २८, २९ गते ११ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

सुरुमा पोखरामा गर्ने भनिएको एमालेको महाधिवेशन पछि काठमाडौं गर्नेगरी सचिवालय बैठकले निर्णय लिएको थियो ।

 

नेकपा र जसपाबीच एकताका लागि १० बुँदे सहमति पत्रको मस्यौदा तयार

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बीच एकताका लागि सहमतिको १० बुँदे पत्रको मस्यौदा तयार भएको छ।

बिहीबार नेकपाको केन्द्रीय कार्यालयमा दुवै पार्टीका वार्ता समितिबीच भएको बैठकमा सहमतिका लागि १० बुँदे मस्यौदा पत्र तयार पारिएको हो।

 यसअघि शनिबार र बुधबार बसेको वार्ता समितिको बैठकले दुई पार्टीबीचका सहमति र असहमतिका विषय पहिल्याएको थियो।बिहीबार वार्तामा सहभागी नेकपा नेता प्रकाश ज्वालाले १० बुँदे सहमति पत्रको मस्यौदा तयार भएको र भोलि अन्तिम रुप दिइने बताए। उनका अनुसार आजको बैठकमा आएका सुझावलाई समेटेर मस्यौदालाई भोलि अन्तिम रुप दिने तयारी छ। त्यसपछि वार्ता समितिसहित नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र जसपा अध्यक्ष अशोक राई बसेर एकताकै अन्तिम टुंगो लगाउनेछन्। सम्भवतः भोलि नै उक्त सहमति पत्रमा हस्ताक्षर गरिने छ।

दुई पार्टीबीच नेपाली विशेषताको समाजवादलाई आगामी क्रान्तिको कार्यदिशा बनाउने सहमति भएको छ। त्यस्तै मागर्दशक सिद्धान्तका रुपमा माक्र्सवाद र लेनिनवादलाई मान्न जसपा तयार भएको छ।

त्यस्तै पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता हुने कुरामा पनि दुवै पार्टी सहमत भएका छन्। साथै  तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न दर्जन कम्युनिस्ट घटकबीच नेपाली कम्युनिस्ट पार्टी बनाउन भएको १८ बुँदे सहमतिलाई अनुमोदन गरिने छ।

च्यासलमा ८ घण्टादेखि जारी एमाले बैठक सकियो

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सकिएको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार दिउँसो १ बजेदेखि सुरु भएको बैठक केहीबेर अघि सकिएको हो ।

बैठक सुरु भएको ८ घण्टा भयो । अहिले बैठक सकिएको केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा ११ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल केन्द्रित रहेको बताइएको छ । त्यसबाहेक फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन तथा माघ ११ को राष्ट्रिय सभा निर्वाचन र मंसिर ६ गते प्रतिनिधि सभा पुनर्स्थापनाका लागि काठमाडौँमा गर्ने प्रदर्शनबारे समेत छलफल भएको बताइएको छ ।

एमालेले ११ औँ महाधिवेशन यही मंसिर २७ देखि २९ सम्म काठमाडौँमा गर्दै छ ।

जेनजी आन्दोलनका क्रममा जलेको कार्यालय मर्मतपछि पहिलोपटक सचिवालय बैठक च्यासलमा बसेको हो ।

 

एनपीएल : लुम्बिनीको विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गर्ने क्रममा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १४२ रनको मध्यम लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाए । उनले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेल ३९, सन्दीप जोराले २८, डार्सी सर्ट ११, दीलिप नाथ १० रनमा आउट भए । जेजे स्मित ४ रनमा अविजित रहे । बलिङमा चितवनका रिजन ढकालले २ र सोहिल तन्विरले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाए ।

उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । कप्तान कुशल मल्ल २१, सैफ जैब १५, दीपक बोहरा १०, डविड मलान ०, देव खनाल १४ र सोहिल तन्विर ५ रनमा आउट भए । अर्जुन साउद ८ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका रुवेन ट्रम्पेल्मेनले सर्वाधिक ३ विकेट लिए । अभिषेश गौतम र गुल्बादिन नइबले दुईदुई विकेट लिए ।

 

सरकारको विरोधमा उत्रियो अनेरास्ववियु, काठमाडौंमा मसाल जुलुस

काठमाडौं । सरकारले षडयन्त्रपूर्वक आफ्ना नेताहरुलाई कार्यक्रममा सहभागी हुन नदिएको भन्दै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेको छ । अनेरास्ववियुले आज (बिहीबार) साँझ नयाँबानेश्वरमा मसाल जुलुस निकालेको हो ।

आफ्नो माउपार्टी एमालेका नेतालाई पूर्व घोषित कार्यक्रममा सहभागी हुन नदिन विभिन्न षडयन्त्र गरेकाले विरोधमा मसाल जुलुस निकालेको अनेरास्ववियु अध्यक्ष दीपक धामीले जानकारी दिए । मधेसमा हुने कार्यक्रममा सहभागी हुन महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितका नेताहरु बारा जान लाग्दा जेनजी युवाहरुले विमानस्थलमा नै प्रदर्शन गरेपछि दुई दिनयता सिमरा तनावपूर्ण छ ।

सरकार असंवैधानिक भएको बताउँदै अध्यक्ष धामीले संविधानले कल्पना गरेको दलीय व्यवस्था माथि नै प्रहार भएको दाबी गरेका छन् । हस्तक्षेपकारी नीति सरकारले तत्काल अन्त्य नगरे आन्दोलनका थप कार्यक्रम ल्याउने उनको चेतावनी छ ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटको हट्यो अवरोध, के-के भए सहमति ?

काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको समस्या समाधनबारे ११ बुँदे सहमति भएको छ । बिहीबार बसेको सरकार र स्थानीयवासीबीचको छलफलमा सहमति जुटेसँगै स्थानीयवासी तथा स्थानीय जनप्रतिनिधिहरू फोहोर फाल्ने अवरोध हटाउन तयार भएका छन्।

सहमतिमा फोहोर अवरोधका क्रममा स्थानीयवासीमाथि लगाइएको मुद्दा फिर्ताका लागि पत्राचार गर्ने, ल्याण्डफिल्ड साइटको ईआईए तत्कालै तयार गर्ने, एक महिनाभित्र मुआब्जा वितरण गर्ने लगायतका विषय छन् । त्यस्तै, काठमाडौं महानगरपालिका बञ्चरेडाँडा क्षेत्रका दुई स्थानीय तहलाई दिँदै आएको ३–३ करोड रुपैयाँ अनुदान वृद्धि गरी ६–६ करोड पुर्‍याउने निर्णय गरिएको छ ।

आगामी आर्थिक वर्षदेखि उक्त अनुदानमा बेलकोटगढी नगरपालिकालाई पनि समावेश गर्न महानगरलाई सिफारिस गर्ने सहमति भएको छ । यसबाहेक तीनपिप्ले–कुमरी–गल्छी सडकलाई चालु आर्थिक वर्षमै बहुवर्षीय आयोजनाको रूपमा अघि बढाउन आवश्यक प्रक्रिया तुरुन्त थाल्ने सहमति पनि भएको छ ।

हेर्नुस् सहमति

सिमराको जेनजी प्रदर्शन स्थगित, भोलि वार्ता

बारा । सिमरामा उग्र बनेको जेनजी प्रदर्शन नियन्त्रणमा आएको छ । कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासन र वार्तामा बस्ने सहमतिपछि जेनजी युवाले प्रदर्शन स्थगित गरेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी छविरमण भट्टराईका अनुसार प्रशासन र जेनजीबीच शुक्रबार वार्ता हुनेछ । आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग राख्दै जेनजी युवाले बिहीबार दोस्रो दिन पनि प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग झडप समेत भएको थियो । झडपमा ६ जना प्रहरी र चार जना जेनजी समेत घाइते भएका छन् ।

प्रदर्शन स्थगित भएपछि सिमरामा बिहान ११ बजेदेखि अवरुद्ध बनेको यातायात सुचारु भएको छ । यातायात सुचारु भएसँगै सिमराको अवस्था सामान्य बनेको छ । जिल्ला प्रशासन कार्यालय बाराले आज पनि १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि जारी गरेको कफ्र्यु आदेश भने जारी नै छ ।

 

ट्रम्प र मेयर–निर्वाचित ममदानीबीच शुक्रबार भेट हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी अभियानका क्रममा कडा आलोचना गरेका न्युयोर्कका मेयर–निर्वाचित जोहरान ममदानीलाई आगामी शुक्रबार भेट्ने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममार्फत ममदानीलाई ‘कम्युनिस्ट’ भनेर दोहोर्‍याएको आरोप बीच ‘शुक्रबार, नोभेम्बर २१ मा ओभल अफिसमा बैठक हुनेछ’ भनी पुष्टि गरेका छन् ।

मेयर–निर्वाचित ममदानीका प्रवक्ता डोरा पेकेकले पनि विज्ञप्ति जारी गर्दै बैठक सुनिश्चित भएको जानकारी दिएका छन् । उनका अनुसार परम्परा अनुसार मेयर–निर्वाचितले वासिङ्टनमा राष्ट्रपतिसँग सार्वजनिक सुरक्षा, आर्थिक सुरक्षा तथा दुई हप्ताअघि न्युयोर्कका १० लाखभन्दा बढी नागरिकले चुनावमार्फत दिएको किफायती जीवनशैलीसम्बन्धी जनादेशबारे विस्तृत छलफल गर्ने तयारी गरेका छन् ।

ट्रम्प र ममदानी दुवै न्युयोर्कको क्वीन्स बरोमै हुर्किएको भए पनि उनीहरूको राजनीतिक र विचारधारात्मक समानता यत्तिमै सीमित देखिन्छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालका उपलब्धि उल्लेख गर्दा वाल स्ट्रिटका रेकर्ड तोड्ने लाभलाई मुख्य रूपमा प्रस्तुत गर्दै आएको छ । तर ममदानीको आर्थिक दृष्टिकोण भने त्यसभन्दा व्यापक छ, जसले म्यानहट्टनका बुलिश वित्तीय बजारभन्दा पर रहेका करिब ८० लाख न्युयोर्कवासीले भोगिरहेको किफायती जीवनयापनको चुनौतीलाई प्राथमिकता दिन्छ ।

सन् १९६९ पछि न्युयोर्कमा १० लाखभन्दा बढी मत प्राप्त गर्ने पहिलो मेयर उम्मेदवारका रूपमा उदाएका ममदानीले किफायती आवास, सहज बाल हेरचाह सेवा, निःशुल्क बस यात्रा तथा नगरद्वारा सञ्चालित किराना पसलहरूमा निःशुल्क पहुँचजस्ता सामाजिक सुविधा सम्बन्धी प्रतिज्ञा गर्दै आफ्नो अभियान सञ्चालन गरेका थिए । तर धेरै विश्लेषकहरूले यति आदर्शवादी र व्यापक एजेन्डालाई कार्यान्वयन गर्न उनले सामना गर्नु पर्ने चुनौतीहरूबारे शङ्का व्यक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पले कठोर आप्रवासी–विरोधी अभिव्यक्तिहरूका बीच ममदानीको दक्षिण एसियाली नामको उपहास गरेका छन् । साथै अमेरिकाको सबैभन्दा ठूलो सहरले पहिलो पटक मुस्लिम मेयर चुनेपछि न्युयोर्कका लागि सङ्घीय कोष कटौतीसमेत गर्ने धम्की दिएका थिए । ‘मन्डामी, उनको नाम जे भए पनि’ भनी युगान्डामा जन्मिएका ममदानीको नाम जानाजानी गलत उच्चारण गर्दै ट्रम्पले भर्खरै टिप्पणी गरेका थिए ।

यता, मेयर–निर्वाचित ममदानीले पनि ट्रम्पप्रति कुनै सम्झौता नगर्ने शैलीमा प्रतिक्रिया दिएका छन् । यसै महिनाको सुरुआतमा भएको विजय र्‍यालीमा उनले राष्ट्रपति ट्रम्पलाई प्रत्यक्ष सम्बोधन गर्दै ‘डोनाल्ड ट्रम्प, मलाई थाहा छ तपाईं हेर्दै हुनुहुन्छ । मसँग तपाईंका लागि चार शब्द छन्—आवाज बढाउनुहोस्१’ भनी उत्साहित समर्थकहरूबीच ठाडो जवाफ दिएका थिए।

यसैबीच ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले ममदानीको उक्त भाषण वास्तवमै हेरेको पुष्टि गरेकी छिन् ।

पाकिस्तान र इराकको जेलबाट ५६० जना अफगान कैदी जेल मुक्त भई स्वदेश फिर्ता

काबुल । गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका ५६५ जना अफगान नागरिकहरू जेल मुक्त भई अफगानिस्तान फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

रिहा गरिएका मध्ये दुई महिना सम्म पाकिस्तानी जेलमा रहेका ५१७ जना अफगान कैदीहरु दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सिमा हुँदै घर फर्केको जनाइएको छ । इराकमा छ – देखि नौ महिना कैदमा रहेका थप ४८ जना अफगानीलाई पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसम सीमाबाट स्वदेश फिर्ता गरिएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

गत जुलाईमा सार्वजनिक परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा, बन्दी बनाइएका छन् भने तिनीहरु मध्ये अधिकाशं इरान र पाकिस्तानमा रहेका थिए ।

निर्वाचनमा सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सुरक्षा परिषद्को ४१ औं बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौं बार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दे आवश्यक संशोधनका साथ स्वीकृत गरेको छ । उक्त प्रतिवेदनलाई राष्ट्रपति समक्ष पेश गर्ने निर्णय भएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जानकारी दिए ।

यसअघि गत शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समिति बैठकले निर्वाचनमा सेना परिचालनका लागि रक्षा मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको थियो ।

निर्णय बमोजिम रक्षा मन्त्रालयमा पत्र पनि पुगिसकेको थियो । त्यो पत्र बिहीबारको परिषद् बैठकमा छलफल भएको थियो । त्यसपछि परिचालनका लागि सिफारिस गर्ने निर्णय गरिएको हो । परिषद् बैठकमा बारामा उत्पन्न तनावबारे पनि छलफल भएको छ ।

एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा सहभागी हुन जान लागेपछि बुधवारदेखि बाराको सिमरा क्षेत्रमा सुरु भएको तनाव अझै साम्य भएको छैन ।

एमालेसँगको विवादका कारण सिमरास्थित विमानस्थलमा बुधवार जेनजी युवाहरूले तोडफोड गरेका थिए । त्यसपछि त्यहाँ कर्फ्यु आदेश जारी भएको छ । त्यो कर्फ्यु बिहीबार राति ८ बजेसम्मका लागि लम्ब्याइएको छ । बुधवारदेखि सुरु तनाव नरोकिएपछि आज पुनः कर्फ्यु जारी गरिएको हो ।

बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौतीहरु तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतिहरु र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा समेत छलफल भएको राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो ।

बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित

ढाका । बङ्गलादेशको सर्वोच्च अदालतले राष्ट्रिय निर्वाचनमा निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यले कामचलाउ सरकार प्रणाली पुनःस्थापित गर्ने महत्त्वपूर्ण निर्णय सुनाएको छ । तथापि, अदालतले यो व्यवस्था आगामी वर्षको सुरुमा हुन लागेको निर्वाचनमा भने लागू नहुने स्पष्ट गरेको छ ।

कामचलाउ प्रणाली सन् १९९६ मा प्रारम्भ भएको हो र बङ्गलादेशी नागरिक तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले १७ करोड जनसङ्ख्या भएको यस देशको संसदीय लोकतन्त्रमा निष्पक्ष निर्वाचनतर्फको सशक्त कदमका रूपमा यसलाई हृदयदेखि स्वीकार गरेका थिए ।

त्यसपछिका दुई निर्वाचनमा सेवानिवृत्त दुई मुख्य न्यायाधीशको नेतृत्वमा बनेका कामचलाउ सरकारले ९० दिनभित्र चुनाव सम्पन्न गराई विजयी दललाई सत्ता हस्तान्तरण गरेको थियो । सन् २००८ को निर्वाचन समेत केन्द्रीय बैंकका पूर्व गभर्नरको नेतृत्वमा निष्पक्ष रूपमा सम्पन्न भएको थियो ।

तर राजनीतिक असहमतिका कारण सन् २०११ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको कार्यकालमा अदालतको सुझावमा यही प्रणाली खारेज गरियो । विपक्षीहरूले भने उनले भविष्यका चुनावमा प्रभाव पार्ने उद्देश्यले यस्तो कदम चालेको आरोप लगाएका थिए ।

त्यसभन्दा पछिका सन् २०१४, सन् २०१८ र सन् २०२४ का चुनावहरू हसिनाको प्रशासनको निगरानीमा सम्पन्न भए, जसले उनलाई निरन्तर सत्तामा राख्यो तर ती चुनावहरूलाई विश्वसनीय मानिएन । मुख्य प्रतिद्वन्द्वी खालिदा जियाको नेतृत्वमा रहेको बङ्गलादेश राष्ट्रवादी पार्टी ९बिएनपी० ले कामचलाउ सरकार नभएको भन्दै सन् २०१४ र सन् २०२४ को निर्वाचनसमेत बहिष्कार गरेको थियो, तर हसिनाले उनीहरूको मागलाई स्वीकार गर्नु भएको थिएन ।

यसैबीच, बिहीबार सात सदस्यीय सर्वोच्च अदालतका न्यायाधीशहरूले सन् २०११ को निर्णय पुनरावलोकन गर्ने क्रममा दर्ता भएका दुई अपिल र चार याचिकामाथि सर्वसम्मत अदालतको फैसला सुनाएका थिए । अदालतले कामचलाउ प्रणाली बङ्गलादेशले सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रता पाएपछि हुने १४औँ राष्ट्रिय चुनावका लागि पुनःस्थापित गरिने उल्लेख गरेको छ । तर हाल नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले व्यवस्थापन गर्ने १३औँ चुनावमा भने यो लागू नहुने स्पष्ट गरिएको छ ।

निर्णयपछि महान्यायाधिवक्ता मोहम्मद असदुज्जमानले खुशी व्यक्त गर्दै भने, “कामचलाउ सरकार प्रणालीलाई बङ्गलादेशको लोकतन्त्रको अभिन्न अङ्गका रूपमा अदालतले मान्यता दिएको छ । यो विवरण अदालतको विस्तृत फैसला सार्वजनिक भएपछि स्पष्ट हुनेछ । हामी विश्वस्त छौँ कि अब बङ्गलादेशले साँचो लोकतान्त्रिक मार्गमा आफ्नो नयाँ यात्रा सुरु गर्नेछ ।”

उता, खालिदा जियाको पार्टीले पनि उक्त निर्णयलाई स्वागत गरेको छ । पार्टीका वरिष्ठ नेता अमिर खसरु महमुद चौधरीका अनुसार कामचालउ सरकार प्रणाली पुनःस्थापना गर्नु बङ्गलादेशको राजनीतिक भविष्यका लागि नयाँ क्षितिजको सुरुआत हुनेछ ।

सन् २०२४ को अगस्ट ५ मा १५ वर्ष लामो शासन अन्त्य गर्ने जनविद्रोहतत्पश्चात शेख हसिना अपदस्थ भएको तीन दिनमै मुहम्मद युनुस अन्तरिम सरकार प्रमुख बसेका थिए । हसिना हाल भारतमा निर्वासनमा हुनुहुन्छ र मानवता विरुद्धको अपराधमा दोषी ठहरिएपछि उनलाई सोमबार मृत्युदण्डको सजाय सुनाइएको छ ।

विश्लेषकहरूका अनुसार युनुसको नेतृत्वमा देश संवेदनशील मोडमा रहेको अवस्थामा आगामी निर्वाचनअघि बङ्गलादेशले जटिल र चुनौतीपूर्ण परिस्थिति सामना गर्नुपर्ने देखिन्छ ।

गाजामा ४० हजार बालबालिकालाई खोप दिने डब्लुएचओको लक्ष्य

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजा पट्टीमा हाल कायम रहेको युद्धविरामको अवसर उपयोग गर्दै ४० हजारभन्दा बढी बालबालिकालाई विभिन्न सङ्क्रामक रोगविरुद्ध खोप दिने महत्त्वाकांक्षी लक्ष्य राखेको छ । सङ्गठनका उच्चाधिकारीहरूले यस अभियानले गाजाको गम्भीर रूपमा कमजोर बनेको स्वास्थ्य प्रणालीलाई राहत पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

डब्लुएचओ र यसका साझेदार संस्थाहरूले नोभेम्बर ९ देखि सुरु गरिएको खोप अभियानको प्रारम्भिक चरणमा पहिलो आठ दिनभित्र तीन वर्षमुनिका १० हजारभन्दा बढी बालबालिकालाई खोप दिन सफल भएको जानकारी दिए । डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससका अनुसार अभियानको पहिलो चरण शनिबारसम्म विस्तार गरिएको छ र यसमार्फत बालबालिकालाई दादुरा, गलफुलो, रुबेला, डिप्थेरिया, टिटानस, लहरे खोकी, हेपाटाइटिस बी, क्षयरोग, पोलियो, रोटाभाइरस तथा निमोनियाजस्ता गम्भीर रोगहरूबाट जोगाउने लक्ष्य राखिएको छ ।

अभियानको दोस्रो र तेस्रो चरण क्रमशः डिसेम्बर र जनवरी महिनामा सञ्चालन हुने तय गरिएको छ । यी अभियानलाई युनिसेफ, संयुक्त राष्ट्र शरणार्थी सहायता संस्था (युएनआरडब्लुए) तथा हमासको नियन्त्रणमा रहेको गाजाको स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा अघि बढाइनेछ ।

महानिर्देशक गेब्रेयससले युद्धविरामले निरन्तरता पाइरहेको देखेर आफू प्रोत्साहित भएको बताउँदै यसले डब्लुएचओ तथा साझेदारहरूलाई गाजामा आवश्यक स्वास्थ्य सेवा विस्तार गर्न तथा ध्वस्त भइसकेको स्वास्थ्य पूर्वाधारको पुनःउपकरण र पुनर्निर्माणमा सहयोग पुर्‍याउन सहज भएको उल्लेख गरेका छन् ।

यसैबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित योजनालाई समर्थन जनाउँदै मतदान गरेको थियो । सो योजनाले इजरायल र हमासबीच गत अक्टोबर १० मा लागू भएको युद्धविराम कायम राख्न सघाएको बताइन्छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गराइएको रक्तपातपूर्ण आक्रमणपछि सुरु भएको दुई वर्षभन्दा लामो शत्रुताले गाजालाई अत्यन्त क्षतिग्रस्त बनाएको छ । उक्त आक्रमणमा एएफपीद्वारा सङ्कलित आधिकारिक तथ्याङ्कअनुसार एक हजार २२१ जना इजरायली नागरिकको मृत्यु भएको थियो, जसमा अधिकांश सामान्य नागरिक थिए ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणको प्रतिक्रियामा हालसम्म ६९ हजार ५०० भन्दा बढी प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् । मन्त्रालयले मृतकमध्ये कति लडाकू थिए भन्ने खुलाएको छैन, तर आधाभन्दा बढी मृत्यु हुनेहरू महिला र बालबालिका रहेको सङ्केत गरेको छ । संयुक्त राष्ट्रसङ्घले यी तथ्याङ्कलाई भरपर्दो मानिएको जनाएको छ ।

कीर्तिपुरमा क्रिकेटप्रेमी (तस्बिरहरू)

काठमाडौं।   नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबारको खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजले प्रतिस्पर्धा गरिरहेका छन्  ।

चितवनले तीन महत्त्वपूर्ण विकेट लिएको छ । खेल ७ ओभर तीन बलमा चितवनले तेस्रो विकेट गुमाएको छ  ।

एनपीएल अन्तर्गत बिहीबार लुम्बिनी र चितवनको खेल हेर्न धेरै दर्शकहरू पुगेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

फ्रान्सेली वैज्ञानिकद्वारा क्यान्सर उपचारमा एमआरएनएको सम्भाव्यता परीक्षण

अर्लियन्स (फ्रान्स) । फ्रान्सको ऐतिहासिक सहर अर्लिन्सस्थित एक अत्याधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव शरीरभित्र कार्य गर्ने ‘मेसेन्जर आरएनए’ ९एमआरएनए० का क्षमताहरू परीक्षण गर्दै घातक क्यान्सर उपचारमा क्रान्ति ल्याउने सम्भावना खोजिरहेका छन् । कोभिड–१९ खोपमार्फत विश्वभर चर्चित बनेको एमआरएनए प्रविधि अहिले क्यान्सरविरुद्धको नयाँ आशाका रूपमा उदाउँदै छ ।

एमआरएनए अणुहरूले शरीरका प्रत्येक कोषमा डिएनएबाट आनुवंशिक सन्देश बोकेर विशिष्ट प्रोटिन उत्पादन गराउँछन् । “क्यान्सरको हकमा, यही सन्देशले बिरामीको शरीरलाई ट्युमरविरुद्ध प्रभावकारी रूपमा लड्ने क्षमता दिन सक्छ”, फ्रान्सेली अनुसन्धान संस्थान आइएनएसइआरएम अन्तर्गतको एआरटी प्रयोगशालाका परियोजना प्रबन्धक दिमित्री सिम्जाकले भने ।

एमआरएनए सन् १९६० को दशकमै खोजिएको भए पनि कोभिड महामारीका बेला यस प्रविधिले नयाँ पुस्ताका खोपहरू अत्यन्त छिटो विकास गर्न मद्दत गरेपछि विश्वव्यापी रूपमा चर्चित बन्यो । यस महत्त्वपूर्ण उपलब्धिका कारण सन् २०२३ मा चिकित्साशास्त्रमा नोबेल पुरस्कार समेत प्रदान गरिएको थियो । अहिले एमआरएनए सम्बन्धी अनुसन्धानको ठूलो हिस्सा क्यान्सरविरुद्ध खोप विकासमा केन्द्रित छ ।

“तर यो प्रविधिसँग धेरै अन्य सम्भावनाहरू पनि छन्”, एआरटी प्रयोगशालाका प्रमुख चान्टल पिचोन भन्छन्, “प्रतिरक्षा प्रणाली सुदृढ पार्न, क्षतिग्रस्त कोषहरूको पूर्ति गर्न, आनुवंशिक तथा दुर्लभ रोगहरू लक्ष्य गर्न वा एलर्जी नियन्त्रणमा पनि यसको उपयोग हुन सक्छ ।”

पिचोनका अनुसार विश्वका अग्रणी फार्मास्युटिकल कम्पनीदेखि स्टार्टअपसम्मका संस्थाहरूले हाल २०० भन्दा बढी एमआरएनए क्लिनिकल परीक्षण सञ्चालन गरिरहेका छन्, जसको ठूलो हिस्सा अमेरिका, चीन र जापानमा केन्द्रित छ । तथापि, फ्रान्ससँग पनि एमआरएनए प्रविधिमा कार्यरत उत्कृष्ट आधारभूत अनुसन्धान टोलीहरू रहेको उनी बताँउछन्।

एआरटी प्रयोगशालामा वैज्ञानिकहरूले विभिन्न प्रकारका एमआरएनए तयार गरेर तिनीहरूको विषाक्तता र प्रभावकारिताको जाँच गरिरहेका छन् । प्रायः प्रयोगशालामा उत्पादन गरिने आरएनए परीक्षण ट्युबमै निर्माण हुन्छ, जुन महँगो प्रक्रिया हो र धेरैजसो अमेरिकी कम्पनीहरूको पेटेन्टमुनि पर्छ । यसै कारण प्रयोगशालाको अर्को टोलीले खमीर प्रयोग गरी आरएनए उत्पादन गर्ने लागत–कम विधि विकास गरिरहेको छ, जसले खर्च १० देखि ५० गुणासम्म घटाउन सक्ने अपेक्षा गरिएको छ । तर यस्तो आरएनए औषधि उद्योगको उच्च मापदण्ड पूरा गर्न पर्याप्त शुद्ध र सुरक्षित हुन आवश्यक छ ।

उता, अर्को विशेषज्ञ टोलीले अग्नाशय (प्यान्क्रियास)क्यान्सरको उपचारमा नयाँ विधि खोजिरहेको छ—जसको निदान भएपछि बाँच्ने दर ऐतिहासिक रूपमा अत्यन्त कम रहँदै आएको छ । “सन् २००० मा पाँच प्रतिशत रहेको यो दर आज १० प्रतिशत पुगेको छ”, एआरटीका ग्यास्ट्रोएन्टेरोलोजिस्ट बिराने बेये भने । उनका अनुसार दुई दशकको यो सानो प्रगतिले परम्परागत उपचार—जस्तै केमोथेरापी वा इम्युनोथेरापी—ले राम्रोसँग काम नगरेको देखाउँछ ।

फ्रान्सेली वैज्ञानिकहरूले अहिले एमआरएनए खोपलाई अल्ट्रासाउन्ड प्रविधिसँग संयोजन गर्दै नवीन उपचारप्रति आशा जगाइरहेका छन् । “अत्यन्त आक्रामक क्यान्सरसँग जुध्न प्रतिरक्षा कोषहरूलाई सिकाउन एमआरएनए प्रयोग गर्ने हाम्रो धारणा हो”, बेयेले स्पष्ट पारेका छन् ।

यस विधिमा पहिलो चरणका रूपमा शक्तिशाली अल्ट्रासाउन्ड मार्फत तन्तुभित्र कम्पन पैदा गरिन्छ, जसले ग्यासका साना फोका बनाउँछ । “जब ती फोका फुट्छन्, तिनीहरूले अग्नाशय वरिपरि रहेको कडा अवरोध—एक प्रकारको ‘बङ्कर’—लाई भत्काइदिन्छन्, जसले एमआरएनए खोपलाई ट्युमरसम्म सहजै प्रवेश गर्न मद्दत गर्छ”, बेये भन्छन् ।

हालसम्मको प्रारम्भिक परीक्षणले अल्ट्रासाउन्ड प्रविधि सुरक्षित रूपमा अग्नाशयमा प्रयोग गर्न सकिने र यसले मौजुदा उपचारको प्रभावकारिता सुधार गर्न सक्ने सङ्केत दिएको वैज्ञानिकहरूको दाबी छ । अबको चरणमा उनीहरूले यस संयोजनमार्फत अग्नाशय क्यान्सर बिरामीको जीवनदर बढाउन सकिने आशा राखेका छन् ।

यसैबीच, बिहीबार विश्व अग्नाशय क्यान्सर दिवस पनि परेको छ, जसको उद्देश्य यो अत्यन्त घातक क्यान्सरबारे विश्वव्यापी जागरण बढाउनु रहेको छ ।

बोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्स सामू १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४२ रन बनायो ।

चितवनको सुरुआत भने सुखद रहेन । कूल ४३ रन जोड्दा तीन विकेट गुमाएको चितवनका लागि कप्तान कुशल मल्ल र रवी बोपराले ४४ रनको साझेदारी गर्दै पारीलाई सम्हाल्ने प्रयास गरे । १५ दशमलव २ ओभरमा टिमको स्कोर ८७ हुँदा कप्तान मल्ल व्यक्तिगत २१ रनमा आउट भए । रवी वोपरा भने अर्धशतकी पारी खेले । उनी ६६ रनमा आउट भए ।

यस्तै देव खनालले १४, दीपक बोहराले १०, सैफ जैब १५, अर्जुन साउँदले अविजित १५ र शाहिल तनवीरले पाँच रन बनाए । बलिङमा लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए भने अभिषेश गौतम र गुलबदिन नैबले समान दुई/दुई विकेट लिए ।

प्रतियोगितामा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनी सुखद् सुरुआतको खोजीमा छ । चितवन भने लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ ।

चुनावअघि बङ्गलादेश प्रहरीद्वारा नयाँ वर्दी सार्वजनिक, जनविश्वास पुनर्निर्माणको प्रयास

ढाका । सामूहिक विद्रोहपछिको पहिलो राष्ट्रिय चुनाव केही हप्तामै नजिकिँदै गर्दा बङ्गलादेश प्रहरीले गहिरो रूपमा क्षतिग्रस्त भइसकेको जनविश्वास पुनर्निर्माण गर्ने आशामा नयाँ वर्दी अनावरण गर्दै सुधारको सङ्केत दिएको छ ।

सन् २०२४ मा पूर्व प्रधानमन्त्री शेख हसिनाको निरङ्कुश सरकार पतन भएपछि उत्पन्न उथलपुथलमा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए । तीमध्ये धेरैजना पुलिसको गोलीले ज्यान गुमाएका थिए ।

“बङ्गलादेश प्रहरीले अभूतपूर्व सङ्कटको सामना गरिरहेको छ”, प्रहरी प्रवक्ता सहादत हुसेनले भने, “नयाँ वर्दीले केही सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने नीति निर्माताहरूले सुझाव दिएका छन् ।” लामो समयदेखि फिरोजा र निलो रङमा परिचित वर्दी अहिले फलाम–खैरो सर्ट र चकलेट–खैरो ट्राउजरमा रूपान्तरित गरिएको छ ।

तर बिग्रिएको प्रतिष्ठालाई केवल वर्दीले सुधार्न सकिन्छ कि सकिँदैन भन्नेबारे धेरैमा गहिरो शङ्का रहिरहेकै छ । ४८ वर्षीया नजमा अख्तर भन्छन्, “जब म कुनै प्रहरी देख्छु, मलाई उनको मासु काटिदिउँजस्तो लाग्छ । मलाई थाहा छैन, यो घृणाबाट म कहिले मुक्त हुन्छु ।”

उनको १७ वर्षीय छोरा गुलाम नाफिज विद्रोहको क्रममा ज्यान गुमाएका थिए । उनका छोरालाई गोली हानिएको थियो, अस्पताल प्रवेश रोकियो र अन्ततः सन् २०२४ अगस्ट ४ मा अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भयो । “नयाँ वर्दीले तिनीहरूको मनोवृत्ति कसरी परिवर्तन गर्छ रु” उनी भन्छन्, “मैले प्रहरी अधिकारीहरूले तलब वृद्धिको माग गर्ने शिक्षकहरूलाई समेत कुटेको देखेँ ।”

सत्र करोड जनसङ्ख्या भएको बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा चुनाव हुने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा सुरक्षा निकाय शान्तिपूर्ण चुनाव सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण साबित हुनेछन् । तर देशको सुरक्षा संयन्त्र अझै स्थिर हुन नसकेको देखिन्छ ।

यसैबीच पूर्वप्रधानमन्त्री शेख हसिनालाई प्रदर्शनकारीहरूमाथि घातक बल प्रयोग गर्न सुरक्षा निकायलाई निर्देशन दिएको आरोपमा सोमबार ढाकास्थित अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । हसिनाले सेनालाई विरोध दबाउन आदेश दिएको भए पनि सेनाले अस्वीकार गरेपछि सत्तामा बसिरहने उहाँको प्रयास विफल भएको थियो । उहाँको सत्ता पतन भएपछि फैलिएको अराजकतामा तोडफोड र आगजनीका घटनाले करिब ६०० मध्ये ४५० प्रहरी चौकी लक्षित गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

“अघिल्लो सरकारले सत्ता छोडेपछि प्रहरी चौकीहरू त्यागिए र अहिले प्रहरी बल फेरि उभिन सङ्घर्ष गरिरहेको छ”, प्रवक्ता होसेनले भनेका छन्।

विभिन्न अनुसन्धानकर्ताहरूले विद्रोहका दिनमा प्रहरीद्वारा गरिएका व्यापक क्रूरताका प्रमाणहरू सङ्कलन गरेका छन् । यसै क्रममा निःशस्त्र किशोर विद्यार्थी आशिकुर रहमान हृदोयलाई ‘प्रहरीका दुई समूहबीच स्यान्डविच बनाइँदै विन्दु–खाली दायराबाट गोली हानेको’ घटना पनि उजागर भएको टेक ग्लोबल इन्स्टिच्युटकी नीति विश्लेषक फौजिया अफरोजले बताएका छन् ।

करिब एक हजार ५०० प्रहरी अधिकारी अहिले आपराधिक अभियोगको सामना गरिरहेका छन् । तीमध्ये अत्यन्त धेरैमाथि हत्या अभियोग छ र दर्जनौँ अधिकारी हिरासतमा छन् । हसिनाकै मुद्दासँग मिल्दोजुल्दो आरोपमा दोषी ठहरिएका पूर्व प्रहरी प्रमुखलाई पाँच वर्षको कैद सजाय सुनाइएको छ । साथै हत्या अभियोगमा खोजी भइरहेका करिब ५५ वरिष्ठ अधिकारी भारत भागेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

तर सेवारत अधिकारीहरूको पीडा पनि कम छैन । अशान्तिका क्रममा ४४ जना प्रहरी अधिकारी मारिएका छन्, तर अन्तरिम सरकारले प्रदर्शनकारीहरूलाई ‘कानूनी उन्मुक्ति’ दिन सहमति जनाएकोमा उनीहरू रोष प्रकट गर्छन् । हसिना भागेपछि उत्पन्न अराजकतामा आफ्ना पति प्रहरी निरीक्षकलाई भीडले पिटेर हत्या गरेको दृश्य अवलोकन गरेकी सुल्ताना रजियाले दुःख व्यक्त गर्दै भने, “उनको यस्तो अन्त्य हुनु हुँदैन थियो ।”

नाम नखुलाउने सर्तमा एक मध्यम–स्तरका अधिकारीले भने, “प्रहरी पनि मानिस नै हुन् ।”

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रहरी सुधार आयोग गठन गरेको भए पनि प्रगति सुस्तै छ । अत्यधिक बल प्रयोगका आरोप जारी छन् र जनविश्वास यति कमजोर बनेको छ कि धेरै क्षेत्रमा भीडले आफ्नै हातले न्याय गरिरहेको पाइन्छ, जसमा अपहरणदेखि कुटपिट र हत्या सम्मका घटनाहरू बढेका छन् ।

मानव अधिकार संस्था ‘ऐन ओ सालिस केन्द्र’ का अबु अहमद फैजुल कबीर भन्छन्, “म ठूलो परिवर्तन देख्दिनँ । पछिल्ला १० महिनामा हिरासतमा करिब २८ जनाको मृत्यु भइसकेको छ ।”

मानव अधिकार समूह ‘ओधीकर’ ले प्रकाशित गरेको नोभेम्बरको तथ्याङ्कअनुसार विद्रोहपछिको एक वर्षमा मात्रै करिब ३०० जनाको मृत्यु राजनीतिक हिंसाका कारण भएको छ ।

ठूला राजनीतिक दलका सरकारहरूले प्रहरीलाई ‘राजनीतिक औजार’ का रूपमा प्रयोग गर्दै आएको आरोप निकै पुरानो हो । मोटर रिक्सा चालक ६० वर्षीय आलमगीर हुसेन भन्छन्, “उनीहरूले कहिल्यै देशको कानूनको चिन्ता गरेनन् ।”

विश्व बाल दिवसः खेलकुदमार्फत बालअधिकार र लैङ्गिक समानताको सन्देश

काठमाडौँ । आज २० नोभेम्बर अर्थात् विश्व बाल दिवस । युनिसेफले नेपाल क्रिकेट सङ्घ (क्यान) र अष्ट्रेलियाली दूतावाससँगको साझेदारीमा आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा विशेष कार्यक्रममार्फत विश्व बाल दिवस मनाएको छ । बालअधिकार, लैङ्गिक समानता र खेलकुदले समाजमा सकारात्मक परिवर्तन ल्याउनसक्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यो दिवस मनाइएको हो ।

यस वर्ष, युनिसेफ नेपालले क्यान र अष्ट्रेलियाली दूतावाससँगको साझेदारीमा ‘लेभलिङ द प्लेइङ फिल्ड’ नामक संयुक्त पहलमार्फत दिवस मनाएको हो । कार्यक्रमले क्रिकेटको लोकप्रियतासहित मुलुकभरका बालबालिकाका लागि समान अवसर प्रवर्द्धन गर्ने, किशोरी विद्यालयमा टिकाइ राख्ने, किशोरीलाई आवश्यक सेवासुविधामा पहुँच पु¥याउने, आफ्नो समुदायमा पूर्ण रूपमा सहभागिता जनाउन सक्ने बनाउनेलगायत उद्देश्य लिएको छ ।

कार्यक्रममा ३०० भन्दा बढी बालबालिकाको सहभागिता रहेको छ । जहाँ बालबालिकाले नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीसँत मैत्रीपूर्ण क्रिकेट खेल पनि खेलेका छन् ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सो अवसरमा उपस्थित भएका सम्पूर्णलाई धन्यवाद दिँदै भने, “तपाईंहरूले हाम्रो देशप्रति देखोएको प्रेम र युवालाई संलग्न गराउने, सशक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेकोमा हामी आभारी छौँ ।”

अष्ट्रेलियाली राजदूत लियान जोन्स्टनले किशोरीको शिक्षा, सीप र आत्मविश्वासमा केन्द्रित हुनु भनेको नेपालको भविष्यमा लगानी गरेको बताउँदै सशक्त बालिकाले सबल समुदाय तथा समृद्ध परिवार र समाज निर्माण गर्नसक्ने क्षमता राख्ने धारणा राखेका छन् ।

कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, “क्यानमा हामी सधैँ विश्वास गर्छौँ कि क्रिकेट केवल खेल मात्र होइन । यो आत्मविश्वास, अनुशासन र नेतृत्वको गुण विकास गर्ने एउटा मञ्च हो, जसले सक्षम र जिम्मेवार युवा नागरिक तयार पार्छ ।”

युनिसेफकी नेपाल प्रतिनिधि एलिस अकुङ्गाले नेपाल सरकार, नेपाल क्रिकेट सङ्घ, अष्ट्रेलियाली दूतावास, शिक्षकशिक्षिकालगायत आमसमुदायले बालबालिका र युवाको अधिकार प्रवर्द्धन तथा समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा गरेको प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गरेका छन् ।

विश्व बाल दिवसको अवसरमा युनिसेफले ‘युरिपोर्ट पोल’ पनि सुरु गरेको छ । उक्त पोलले बालबालिका र युवालाई बालअधिकारबारे आफ्ना विचार व्यक्त गर्न, समस्या समाधान प्रक्रियामा सहभागी हुन आग्रह गर्दछ ।

पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले आज सर्वसाधारणलाई भगवान् पशुपतिनाथको नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको दर्शन गराएको छ ।
कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्यका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षसहित प्राचीन महत्त्वका गरगहनालगायत सामग्री सर्वसाधारणलाई देखाउने परम्परा छ । सोही परम्परा अनुसार आज बिहान ९ः०० बजेदेखि ११ः१५ बजेसम्म सुरक्षा निकायको सहयोगमा ती सामाग्री प्रदर्शन गरिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए।
यसअघि मार्गशीर्ष कृष्ण आमावास्याका दिन (मङ्सिर २ गते) मङ्गलबार बिहान १०ः०० बजेदेखि ११ः३० बजेसम्म पनि सुरक्षा निकायको सहयोगमा नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्त्वका गरगहना सर्वसाधारणलाई देखाइएको थियो ।
मार्गशीर्ष कृष्ण त्रयोदशीका दिनदेखि एक वर्ष सुरक्षित रूपमा ती सामग्री राखिएको छ । मार्गशीर्ष कृष्ण आमावास्यका दिनदेखि आगामी एक वर्षसम्म सुरक्षित रूपमा राखिन्छ भनी यी सामग्री देखाउने परम्परा रहिआएको कोषले जनाएको छ ।

हाइब्रिड’ले निम्तिदै छ सङ्कट

गुल्मी । इस्मा गाउँपालिका–६ स्थित घिमिरे कृषि तथा पशुपक्षी फर्मले गतवर्ष पाँच टन अरूण–२ जातको मकैको बीउ उत्पादन ग¥यो । किसानले भारतीय उन्नत जातको (हाइब्रिड)बीउ रोप्न थालेपछि २५ क्वीन्टल बीउ बिकेन । बीउ बिक्री गरी मनग्गे कमाउने सोचेका फर्म सञ्चालक कृष्ण घिमिरे अब बीउ उत्पादन गर्ने कि नगर्ने भन्ने दोधारमा रहेका छन् ।

“किसानलाई स्थानीय माटोमा उत्पादन भएको मकैको बीउ उपलब्ध गराउने उद्देश्यले बीउ उत्पादनमा लागेको थिएँ, तर अहिले किसानले हाइब्रिड बीउमा पल्केर स्थानीय जातको मकैको बीउमा रूचि राख्दैनन्”, घिमिरेले भने, “नबिकेको बीउ खाद्यान्नको लागि सस्तो मूल्यमा बेच्न बाध्य भएँ ।” उनले गाउँका रैथाने उन्नत बीउ मासिएपछि कुनै कारण आयातित बीउ रोकिए खेतबारी बाँझो रहने चिन्ता व्यक्त गरेका छन् ।

मदाने गाउँपालिका–६ स्थित पुर्कोट उद्यम कृषि सहकारी संस्थाले मनकामना–३ र देउती मकैको बीउ उत्पादन गर्दै आएको छ । यो वर्ष सहकारीले मनकामना–३ र देउती जातको मकैको ४० क्विन्टल बीउ बिक्री गर्न सकेन । सहकारी संस्था अध्यक्ष लोकहरी कुवँर भन्छन्, “भारतीय हाइब्रिड बीउले रैथाने जातको बीउ किसानले किन्न छाडेपछि बीउ बिक्न छाड्यो । बीउ बिक्री नहुँदा चार लाख घाटा लाग्यो ।”

विभिन्न सहकारी संस्थाको तथ्याङ्कअनुसार गुल्मीमा ६५ क्विन्टल बीउले बजार पाएन् । यहाँ अरुण–२, मनकामना–३ र देउती मकैको बीउ उत्पादन हुँदै आएको छ । धेरै उत्पादन हुने लोभमा किसानले हाइब्रिड बीउ रोप्न थालेपछि रैथाने बीउ सङ्कटमा परेको छ । केही वर्ष अघिसम्म स्थानीय जातको मकैको बीउ खोज्ने किसानको अहिले हाइब्रिड बीउमा रूचि छ । पछिल्लो समय स्थानीय तहहरुले किसानलाई रैथाने र उन्नत जातका असल बीउ खोजेर रोप्न प्रोत्साहन गरिरहेका छन् । पहिले पहिले गाउँघरमा घैटामा, धन्सारमा खरानीभित्र जोगाएर बीउ राख्ने चलन थियो । बीउ जोगाउने पहिलेको चलन अहिले हराएको छ । अहिले हाइब्रिड बीउबाट उत्पादन भएको खाद्यान्न बीउको रूपमा राख्न नसकिने किसानको भनाइ छ ।

सत्यवती गाउँपालिकाका कृषि अधिकृत उपकार भण्डारीका अनुसार गाउँपालिकाले धान, मकैको उन्नत बीउ र चार प्रकारका कोदो, फापर र जुनेलोलगायतका रैथाने बालीका बीउ निःशुल्क वितरण गरिरहेको छ । पहाडी बाली अनुसन्धान केन्द्रबाट मूल बीउ ल्याएर किसानलाई मौसमअनुसार वितरण गर्ने गरिएको छ । रैथाने बाली कम फल्ने र ढल्ने भएका कारण किसान हाइब्रिडतिर आकर्षित भएको कृषि शाखा प्रमुख भण्डारी बताँउछन् । बालीरोग विशेषज्ञ प्रकाश मरासिनीको भनाइमा हाइब्रिड बीउ धेरै फले पनि स्वादका हिसाबले खान मीठो हुँदैन । हाइब्रिडमा नयाँ रोग आउँछन् । धानमा पोके र मकैमा ओइलाउने, कुहिने र जलवायुको जोखिम रहेको छ । उहाँले सरकारी निकायले उन्नत बीउ पर्याप्त दिन नसकेका कारण हाइब्रिड धेरै मात्रामा भित्रिएको बताएका छन् । उनी सरकारी निकायबाट हाइब्रिड बीउलाई प्रोत्साहन गर्न नहुने बताँउछन् ।

व्यापारीले हाइब्रिड बीउलाई प्रोत्साहन गरिरहेका छन् तर सरकारी निकायले नियन्त्रण गर्न ध्यान दिइरहेका छैनन् । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेले रैथाने बाली प्रवद्र्धनअन्तर्गत धुर्कोट र इस्मामा काम गरेको र यान्त्रीकरणमा सहयोग गरेको बताएका छन् । चैतमा रोपेको मकै साउन महिनाको अन्तिममा पाक्ने गर्छ । गुल्मीमा २२ हजार ४१८ हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको छ । वर्षे मकै २० हजार ५१३ र बसन्ते एक हजार ९०५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ । जिल्लामा वर्षे मकै ७१ हजार २०५ मेट्रिकटन र बसन्ते मकै पाँच हजार ९६७ मेट्रिकटन उत्पादन हुने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । पछिल्लो समय किसानले उन्नत जातको मकैलाई प्राथमिकता दिन थालेका छन् । गुल्मीमा सबैभन्दा बढी क्षेत्रफलमा मकै लगाउने वर्षाको समयमा हो । उन्नततर्फ अरुण–२, मनकामना–३ र देउती जातको मकै धेरै लगाइन्छ । यो जिल्लामै उत्पादन हुने मकै हो । कृषि ज्ञान केन्द्रका अधिकारीका अनुसार करिब ७० प्रतिशत किसानले हाइब्रिड जात अर्थात सिपी र जेके मकै धेरै लगाउने गरेका छन् । किसानले धेरै उत्पादन गर्ने उद्देश्यले हाइब्रिड मकै लगाउने गरेका छन् ।
खाद्य सङ्कटको जोखिम

उच्च पहाडी क्षेत्रमा कृषि उत्पादन कम हुने र मौसम परिवर्तनको असर बढी पर्ने भएकाले खाद्य सुरक्षा समस्या हुने गरेको छ । मौसमको उतारचढाव, बाढी र सुख्खाजस्ता प्राकृतिक प्रकोपले खेतीको उत्पादनलाई प्रभावित पार्ने भएकाले खाद्य सङ्कट निम्त्याउने जोखिम छ । अहिलैकै अवस्थामा कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क हेर्दा मध्य साउनसम्म कतिपय फाँटहमा रोपाइँ हुन सकेन । यसले गर्दा किसानको बीउ बुढो भएकाले स्वभाविक रुपमा कम धान फल्ने आँकलन कृषि ज्ञान केन्द्र गुल्मीले गरेको छ । गुल्मीका धेरै गाउँमा उच्च गरिबी र सीमित स्रोतका कारण पोषणयुक्त खानेकुराको अभाव छ । बिहान बेलुकाको छाक टार्न समस्या नभए पनि सन्तुलित रुपमा खाना खाने परिवारको सङ्ख्या कम रहेको छ । पोषणयुक्त खाना नपाएमा बालबालिका र वृद्धहरुको स्वास्थ्यमा असर पु¥याउने गर्दछ । कृषि उत्पादनबाट प्राप्त हुने आहारले सामान्यतयाः प्रोटिन र अन्य पोषणका आवश्यक तत्व पु¥याउन नसक्ने भएकाले थप आहार व्यवस्थापन गर्न गरिब परिवारमा समस्या रहेको छ ।

गुल्मी जिल्लाका सबै गाउँमा बाह्रैमास सडक सञ्चालनको सम्भावना छैन । वर्षात्को बेला लामो समय सडक अवरुद्ध हुँदा बजारबाट गाउँसम्म खाद्य आपूर्ति ढिला पुग्ने वा महँगो हुने समस्याले खाद्य सुरक्षा सङ्कट देखिने गरेको छ । विसं २०७६ मा सत्यवती गाउँपालिका–२, ३ र ४ मा गएको भिषण पहिरोका कारण बन्द भएका सडकका कारण पहिरो प्रभावित क्षेत्रमा झण्डै खाद्य सङ्कट निम्तिएको थियो । विस्थापित ३०० परिवारलाई नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्य व्यवस्थापनको काम गरिएको थियो ।

मालिका गाउँपालिका– १, २ र ३ जिल्लाका विकट गाउँ हुन् । वर्षात्मा गाडी नियमित सञ्चालन हुने सम्भावना छैन् । यसले गर्दा प्रत्येक सामग्रीमा पाँचदेखि १५ प्रतिशतसम्म मूल्य वृद्धि गरेर व्यवसायीले सामान बिक्री गर्ने गरेको स्थानीय अगुवा रवीन्द्र विश्वकर्माले बताएका । व्यक्तिका व्यावसायिक पसलबाट बिक्री वितरण हुने खाद्य सामग्रीलाई जिल्लामा केही सहकारीले सुपथ मूल्य पसल सञ्चालन गरेर सहजीकरण पनि गर्दै आएका छन् । जिल्लामा दुई वर्षदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न बिक्री वितरणको काम गर्दै आएको छ । जिल्लामा सदरमुकाम तम्घास र बाहिर मालिका, रुरुक्षेत्र र मदानेमा कम्पनीले डिपो स्थापना गरेको छ । अहिलेसम्म रु दुई करोडभन्दा बढीको खाद्यान्न बिक्री गरेको शाखाले जनाएको छ । तम्घासमा २०८० पुस १ गते यस कम्पनीको शाखा स्थापनासँगै तीन स्थानमा खरिदबिक्री केन्द्रसमेत सञ्चालन गरिएको थियो ।

जनतालाई सहज र सुलभ तरिकाले खाद्य सामग्रीको आपूर्ति गर्ने उद्देश्यसहित शाखाको स्थापना भएको थियोे । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका शाखा प्रमुख लक्ष्मी भण्डारीका अनुसार लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाबाट एक हजार ९७६ क्विन्टल चामल ल्याइएको थियो । गुल्मीमा कृषि र पशुपालनबाट समृद्धिको आशा जाग्न थालेको छ । पहाडी जिल्लामा ठूला उद्योग कलकारखाना नभएका कारण कृषि र पर्यटन नै समृद्धिका मुख्य आधार हुन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा रु साढे चार अर्बको पशु र सवा अर्ब बराबरको कृषिजन्य उत्पादन भएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तथ्याङकअनुसार आव २०८१र२०८२ मा मासु, दूध र अण्डा गरेर रु चार अर्ब ५९ करोड २९ लाख चार हजारको पशुजन्य उत्पादन भएको छ । त्यसमध्ये रु एक अर्ब ८४ करोड ३८ लाख १५ हजारको दूध मात्रै उत्पादन भएको केन्द्रका प्रमुख हुमकान्त पाण्डेयले जानकारी दिएका छन्।

दूध र माछा मासुको उत्पादन अवस्था
गतवर्षको तुलनामा यो वर्ष जिल्लामा २।५१ प्रतिशत दूध उत्पादन वृद्धि भएको छ । अहिले जिल्ला बाहिर प्रत्येक दिन एक हजार ५०० लिटर दूध निर्यात हुने गरेको छ । सत्यवती, रुरु क्षेत्रका फर्महरुबाट बढी दूध बिक्री हुने गर्दछ । गुल्मीमा राँगो, खसी बोका, कुखुरा, सुङ्गुर र बुङ्गुर तथा भेँडाको रु दुई अर्ब ५८ लाख २३ लाख चार हजार बराबरको मासु उत्पादन हुने गरेको पाण्डेयले बताएका छन् । त्यस्तै जिल्लामा रु १९ करोड ४१ लाख ७५ हजारबराबरको अण्डा उत्पादन हुने गरेको उनले बताएका छन् ।

त्यस्तै जिल्लामा रु एक अर्ब १५ करोड ७२ लाख ६० बराबरको कृषि उपज उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले जानकारी दिए । तरकारीको लागि छत्रकोट, सत्यवती र रुरु क्षेत्र गाउँपालिका अब्वल छन्। त्यस्तै सुन्तला पनि जिल्लामा राम्रो उत्पादन देखिएको छ । जिल्लामा उत्पादन हुने रु २७ करोड २३ लाख ४६ हजारको सुन्तलामध्ये रु १५ करोड ९२ लाखको सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । सुन्तलाको लागि रेसुङ्गा, धुर्कोट र छत्रकोट अब्वल छन् । कफीको जननी गुल्मीबाट अहिले दुई सय १२ मेट्रिकटन अर्थात रु दुई करोड एक लाख ४० हजार मूल्य बराबरको कफी उत्पादनमध्ये एक करोड ६५ लाखको जिल्ला बाहिर निर्यात भएको छ ।

सङ्घ र प्रदेश तहका नीतिसँग अनुकूल हुने गरेर स्थानीय पोषण नीति तर्जुमा गर्ने, आवश्यक स्रोतको व्यवस्थापन गर्ने, दीर्घकालीन आवधिक तथा वार्षिक कार्यक्रममा पोषणमैत्री स्थानीय शासनसम्बन्धी कार्यक्रम समावेश गर्ने, वडा तथा गाउँबस्ती पहिचान गर्ने र सोही अनुसारका क्रियाकलाप सञ्चालन गर्ने समितिको काम रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्र्कीले जानकारी दिएका छन् । उनका अनुसार वडास्तरीय समिति पनि हुने र त्यसले पनि वडा तहबाट कार्यपालिकामा सिफारिस गर्ने काम गर्दछ । यो अभियानअन्तर्गत जिल्लाका स्थानीय तहले पूर्ण पोषणमैत्री पालिका घोषणा गर्ने योजना अघि बढाएका छन् ।

पाटन दरबारमा १६ विद्यार्थीद्वारा कलाका पुराना अभ्यास प्रस्तुत

काठमाडौँ । प्रविधिको विकाससँगै विश्वमा धेरै परिवर्तन भएका छन्। परम्परागत रूपमा मानिसले बनाउने सामान प्रविधिको सहयोगमा एकैछिनमा तयार हुन्छन्। कलामा पनि प्रविधिले आमूल परिवर्तन ल्याइदिएको छ।

काठमाडौँ विश्वविद्यालयका १६ जना विद्यार्थीले भने प्रविधिको विकासले फड्को मार्नुअघि कलाकारले कला सिर्जनामा के कस्ता सामग्री प्रयोग गर्थे, चित्र र मूर्ति कसरी सिर्जना हुन्थ्ये भन्ने कुरालाई देखाउने प्रयास गरेका छन्।

‘द म्याटरियालिटी अफ आर्ट, इफर्मल प्राक्टिसेज इन द नेपाली आर्ट वल्र्ड’ शीर्षकमा उनीहरूले बनाएका कला अहिले पाटन दरबार सङ्ग्रहालयमा प्रदर्शनमा राखिएका छन्। उनीहरूले परम्परागत रूपमा रङहरू कसरी बनाइन्थे र प्रयोग हुन्थ्यो भनेर पनि देखाउने प्रयास गरेका छन्। विद्यार्थीले दैनिक जीवनमा प्रयोग हुने सामग्रीलाई कलामार्फत उजागर गरिदिएका हुन्।

चित्रकारले परम्परागत रूपमा कसरी कला सिर्जना गर्दथे भन्ने कुरालाई अध्ययन गरेर उनीहरूले चित्र तयार पारी प्रदर्शन गरेका काठमाडौँ विश्वविद्यालयका अध्यापक अनिल शाहीले बताए। उनका अनुसार प्रायः काठमाडौँ उपत्यकाको नेवारी संस्कृतिलाई बढी जोड दिइएको उक्त कला प्रदर्शनीमा घण्टाघरदेखि, गाईजात्रा, लल्मी पूजा, भाइपुजा, नेवारको जङ्कुमा प्रयोग गरिने कलाकृति निर्माण गरेर प्रदर्शन गरिएका छन्।

पूर्वजले प्रयोग गर्ने ‘ब्लकप्रिन्ट’, लक्ष्मी पूजामा लक्ष्मीको पोष्टर बनाएर पुरानो परम्परामा गरिने कामलाई यहाँ विद्यार्थीले प्रस्तुत गरेका अध्यापक शाहीले बताए।

उनले भने, ‘जस्तै जङ्कुमा विभिन्न देवीदेवतालाई साक्षीका लागि आह्वान गर्नुपर्ने रहेछ। त्यो साक्षीका रूपमा माटाका भाँडा बनाएर यहाँ राखिएको हो।’

काठमा कुँदेर मसी छाप्ने र कागजमा चित्र बनाउने चलन पुरानो जमानामा थियो। अहिले उक्त शैली प्रयोग नभएकाले पुरानो समयमा कसरी काम गरिन्छ भनेर अग्रजलाई भेटेर अध्ययन गरी विद्यार्थीले कला सिर्जना गरेका शाहीले जानकारी दिए।

अग्रजहरूले प्रयोग गरेका प्रविधिलाई यहाँ विद्यार्थीले उठान गरेर कला प्रदर्शनी गर्नु महत्त्वपूर्ण रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताए।

उनले भने, ‘यो विद्यार्थीका लागि अध्ययनको चरण पनि भयो भने पुराना कुराहरू सिक्न पाउँदा पुस्तान्तरणसमेतमा योगदान हुन्छ, अझै अग्रजसँग भेटेर अध्ययन गरेर युवा पुस्ताले सिक्नु भनेको आफैँमा नयाँ सन्देश हो।’

विद्यार्थीले अग्रज कलाकार मदन चित्रकार, सूर्यबहादुर चित्रकार, लोक चित्रकारसँग सोधेर सामाग्रीहरू सङ्कलन गर्नुका साथै चित्र सिर्जना गरेका छन्। ती सबै सिर्जनाहरू यहाँ प्रदर्शनमा छन्। काठमाडौँ वश्वविद्यालयको चौथो सेमेस्टरमा पढ्ने विद्यार्थीले सामूहिक रूपमा यसरी कला सिर्जना गरेका हुन्।

एउटै कपडामा समूहसमूहमा चित्र सिर्जना गरिएको छ। पहिले पनि समूहमा चित्र बनाउने चलन थियो, त्यसैले अहिले पनि त्यहीअनुसार प्रयोग गरिएको छ। नेवारी संस्कृति गाइजात्रामा प्रयोग हुने ‘सपारु’लाई यहाँ सुन्दररूपमा प्रदर्शन गरिएको छ। गाईजात्रा निकाल्दा गाईको साङ्केतिक रूपमा मुकुण्डो प्रयोग गरिन्छ, सोही देखाइएको अध्यापक शाहीले बताए।

अध्यापक शाहीले यो मुख्य गरी सिकाइका माध्यामबाट समाज कसरी चलिरहेको छ भनेर दखाउन खोजिएको बताए।

‘समाज कसरी परिवर्तन भएको छ। नेवार समुदायको प्रचलन के रहेछ भनेर सिकाइ विद्यार्थीहरुका लागि पनि नयाँ अभ्यास भएको छ’, उनले भने।

स्थानीयले द्वन्द्वकालमा जलेका लालपुर्जा २३ वर्षपछि पाए

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको चैनपुर नगरपालिका–८ र ९ का जग्गाधनीले २३ वर्षपछि लालपुर्जा पाएका छन् । द्वन्द्वकालमा आगलागीमा नष्ट भएका अभिलेखका कारण २३ वर्षसम्म लालपुर्जाबाट वञ्चित चैनपुरका स्थानीयले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका हुन् ।

विसं २०५९ वैशाख १४ गते तत्काली माओवादीद्वन्द्वका बेला चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा भएको आगजनीका कारण क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्ता (मोठ)लगायत महत्त्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएका थिए ।

तत्कालीन बेला आगलागीमा नष्ट भएका चैनपुर–८ र ९ का एक हजार १९० जग्गाधनीले २३ वर्षपछि लालपुर्जा पाएका विशेष नापी कार्यालय चैनपुरका प्रमुख हरिशरण नेपालले जानकारी दिएका छन्। उनका अनुसार नापनक्सा सकिएका चैनपुर–९ का ६२७ र वडा नं ८ का ५६३ जग्गाधनीले लालपुर्जा पाएका छन् । कागजात नभएकाले स्थानीयले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस्या झेल्दै आएका थिए । विसं २०७६ माघ १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अभिलेख पुनःस्थापनाका लागि विशेष नापी कार्यालय स्थापना गरिएको थियो ।

हाल विशेष नापी कार्यालयले सङ्खुवासभाका चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिकामा नापनक्सा तथा लालपुर्जा वितरणको काम गरिरहेको प्रमुख नेपालले जानकारी दिएका छन्। उनका अनुसार सीमित स्रोतसाधन र जनशक्तिका कारण चार पालिकाको २४ हजार हेक्टरमध्ये हालसम्म सात हजार ५०० हेक्टरको नापनक्सा सम्पन्न भइसकेको छ ।

कार्यालय प्रमुख नेपालले चैनपुर–५, ७, ८, ९, १० र ११ मा नापनक्सा सम्पन्न भइसकेको जनाउँदै नक्साका लागि संवेदनशीलता र प्रक्रियाका कारण चार पटकसम्म लाग्ने उल्लेख गरेका छन् । बसाइँसराइले जनसहभागिता कमी, नियन्त्रण विन्दु नभेटिने, पुरानो सफ्टवेयर, घाममा उपकरण बिग्रिरहने लगायत कारणले नापनक्सा तथा लालपुर्जा वितरणमा केही ढिलाइ भएको कार्यालयले जनाएको छ ।

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थिति गराउन आदेश दिएको छ । प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊसहित प्रतिवादी प्रसाईंलाई सशरीर २४ घण्टाभित्र उपस्थित गराउन आदेश गरेको हो ।

प्रशासनले अनुमति नदिएकै बखत विरोध प्रदर्शनको धम्की दिएपछि उनलाई सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासनको अनुमतिमा चार दिन म्याद थप गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । प्रसाईंको थुना गैरन्यायिक भन्दै थुनामुक्त गर्न माग गर्दै छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

 

 

जब स्कुलले थर फेरिदियो, विक्षिप्त बनेका विजय पढ्न छोडेर कुलतमा फसे

काठमाडौँ। उमेरले १५ वर्ष लागे उनी। बालबालिकाको नैसर्गिक अधिकारले भन्छ, शिक्षा, स्वास्थ्य, खेलकुद र अभिभावको माया ममतामा संरक्षण पाउनु मौलिक अधिकार हो।

रोल्पाको त्रिवेणी गाउँपालिका-५ जुगारका विजय विकका लागि यी सबै बालअधिकार कथाजस्तै भएका छन्। उनी कक्षा ४ मा पढ्दापढ्दै विद्यालय जान सकेनन्। चौध वर्षसम्म उनले आफ्नो नामबाहेक अरु केही लेख्न जाँन्दैनथ्ये। किताब पढ्न र अक्षर चिन्न सक्दैनथ्ये।

विजय छिमेकी र आफन्तीले रक्सी, चुरोट जे किन्न पठाए पनि जान्छन् र किनेर ल्याइदिन्छन्। रक्सी र चुरोट किन्दाकिन्दै उनले आफू कुलतमा फसेको बताउँछन्। ‘छिमेकी तथा आफ्न्तले बाबु रक्सी, चुरोट किनेर ल्याइदेन भन्नुहुन्छ’, उनी भन्छन्, ‘किन्दाकिन्दै सुरुमा अलिअलि चाखेँ, अहिले खाने बानी भइसक्यो।’

विजयको घर र बुबाको पहिचान छैन। उनी मामाघरमा हजुरआमासँग बस्दै आएका छन्। उनका आमा नौसरा विकका अनुसार विजयको जन्म डाँगी थरका एक जना युवासँग प्रेम सम्बन्धपछि विजयको जन्म भएको हो।

नौसराले भनिन्, ‘आफू गर्भवती भएको जानकारी केटाका पक्षलाई दिएर सन्तान स्वीकार गर्न अनुरोध गर्दा अस्वीकार गरेपछि घटना अदालती मुद्दामामिलासम्म पुगेको थियो।’

लगातार चार वर्ष मुद्दा लडेपछि जग्गाजमिन बेचेर घरबासमा मात्रै सीमित हुनुपरेको हजुरआमा (मामाघर) की गोमती विकले बताइन्। उनका अनुसार छोरीको विवाहभन्दा पनि गर्भमा रहेको सन्तानको अधिकारका लागि धेरै मुद्दा लड्दालड्दै सम्पत्ति सकिएको हो।

‘धान खाने खेत सम्पत्ति मुद्दा लडेरै सकियो। अब त घरबास मात्रै छ। न छोरीले न्याय पाइ न नातीले बुबाको नाम पायो’, उनले भनिन्। गाँउमा सबैलाई विजय कसको हो भन्ने थाहा छ भन्दै उनले समाज चुप भएर बसिदिएकाले छोरी र नातीले न्याय नपाएका बताइन्।

समाजको तिरस्कार र बुबाको नाम नखुलेको बालकलाई होच्याउने, हेप्ने व्यवहारका कारण विजयले वेवारीसेजस्तै जीवन बिताइरहेको हजुरआमा गोमतीले उल्लेख गरिन्। उनले पनि विजयको बुबा डाँगी थरको भएको दाबी गरिन्।

आमा नौसराले भनिन्, ‘छोराले पटकपटक मेरो बुबा को हो रु भनी सोध्दा जवाफ दिन नसक्ने हुन्छु। उसलाई सम्झाउन ‘तेरो बुबा डाँगी थर’ का हुन् भन्छु। सोही कारणले पनि विजयको थर डाँगी लेखेर स्कुलमा भर्ना गरेका थियौँ।’

‘स्थानीय जनजागृती माविमा कक्षा ३ सम्म उनी ‘विजय डाँगी’ थरमा चिनिए। त्यतिबेला उनलाई थर लेखेकै भरमा स्कुलदेखि समाजका व्यक्तिले डाँगी किन लेखेको? भन्दै होच्याउन थाले। डाँगी लेखेर मनोवैज्ञानिक रूपमा उनलाई डर र त्रास देखाउन थालेपछि विजयलाई जानकारी नगराई स्कुलले विक थर लेखिदिएको हो’, हजुरआमा गोमतीले भनिन्। नातीले तीन कक्षासम्म मात्र पढेको बताउँदै उसले लेख्दै आएको डाँगी थर परिवर्तन भएर विक भएपछि स्कुल जान नमानेको उनले जानकारी दिइन्।

‘मैले स्कुलमा सरलाई लेखिआएको थर लेख्दिनु भनेँ तर, कसैले मान्नुभएन। अहिले नाती गाउँघरमा बरालिँदै समय बिताइरहेको छ। घरमा टोलाउँछ, कहिले रुन्छ र कराउँछ’, उनले भनिन्।

एकल महिला गोमतीले आफूले पाएको भत्ताबाट खर्चमा नाती पाल्दै आएकी छन्। गाउँघरमा डाँगी थरको छोरो भएकाले ज्यान जोखिममा भएको उनको भनाइ छ। ‘कसैले केही गरिदिने हुन की? त्रासमै बित्छ दिन’, उनले भनिन्

स्कुलमा थर परिवर्तन भएपछि विजय मनोवैज्ञानिक रूपमा विक्षिप्त भएको हजुरआमा गोमतीले बताए। ‘थर फेरिएपछि स्कुल जानै मन लाग्दैन। सबैले तेरो बुबा छैन भन्दै होच्याउछन्। पढ्न मन लाग्दैन। कसैले चोर भन्दै गाली गर्छन्’, विजयले भने, ‘स्कुल नगए गाली सुन्नु पर्दैन त्यसैले जानै मन लाग्दैन।’

उनलाई स्कुल पढ्ने मन छ। तर, घरको वातावरण नहुँदा अलपत्र परेका छन्। वडाबाट बनेको जन्मदर्तामा बुबाको नाम ‘थाहा नभएको’ उल्लेख छ भने आमाको थर (विक) लेखिएको छ। विजयको पढाइलेखाइसँगै दैनिक खर्च जुटाउने स्थिति नभएपछि आमा नौसरा भारतमा मजदुरी गर्छिन् भने हजुरआमाले पाल्ने स्थिति नभएको बताइन्।

आमा नौसरा र हजुरआमाले विजय डाँगी लेख्न अनुरोध गर्दा पनि वडाले स्वीकार नगरेको गोमती बताउँछिन्। वडा सचिव चन्द्रप्रसादको हस्ताक्षर रहेको विजयको जन्मदर्तामा बाबु थाहा नभएको लेखिएको छ।

स्थानीय सरकारको विभिन्न कर्तव्यमध्ये आफ्नो वडामा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्यसँगै शारीरिक र मानसिक स्वास्थ्यको हेरचार गर्नुपर्ने हो। तर, वडा कार्यलय र विद्यालयसमेतले विजयलाई पढ्नेलेख्ने अनुकूल वातावरण मिलाउन सकेको छैन। फलस्वरु विजय विद्यालय विहीन भएका हुन्।

त्रिवेणी–५ का वडाअध्यक्ष कृष्ण केसीका अनुसार विजयकी आमाले नौसराले उनको बुबा डाँगी थरको भएको भन्दै केटा पक्षसँग मुद्दामामिला गरेकी थिइन्। डाँगी थर लेख्न भनेर उनकी आमा र हजुरआमाले जोड गर्दै आएका उनले स्वीकार गरे। यद्यपी विवाह दर्ताको प्रमाण नभएकाले जन्मदर्तामा भने डाँगीको ठाउँमा आमाको नामबाट विक लेख्न बाध्य भएको उनले बताए।

वडाध्यक्ष केसीले बच्चाले आफ्नो इच्छाएको थर लेख्न पाउने अधिकार रहेको बताउँदै विद्यालयद्वारा थर परिवर्तन गरिनु गलत भएको स्वीकार गरे। उनले भने, ‘स्कुलले थर फेर्न मिल्दैन, म के भएको रहेछ स्कुलसँग छलफल गर्नेछु।’

जनजागृत माविका प्रधानाध्यापक जीवराज भण्डारीले विजयको थर एक कक्षादेखि डाँगी लेख्दै आएको स्वीकार गरेयो। पछि डाँगी थर किन लेखेको भनेर बाहिरी दबाब आएपछि विक लेख्न सल्लाह मात्रै दिएको उनले बताए। यद्यपी प्रधानाध्यापक भण्डारीले विद्यालयमा विजय स्कुल आउन छोड्नुको कारण भने आफूलाई थाहा नभएको उल्लेख गरे।

बालबालिकालाई विद्यालयमा दैनिक एक गिलास दूध वितरण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरुलाई विद्यालयमा दूध वितरण गर्न थालेको छ ।

बालविकास केन्द्रका बालबालिकालाई दूध वितरण गर्ने कार्यक्रमलाई मङ्गला गाउँपालिकाले नमुना घोषणा गरेको छ । ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत बालविकास केन्द्रका बालबालिकालाई दैनिक एक/एक गिलास दूध वितरण गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिएका छन्।

मङ्गला गाउँपालिकाका पाँच वटा वडामा ४५ वटा बालविकास केन्द्रमा यस वर्ष तीन सय ७७ जना बालवालिका छन । दिवा खाजासँगै दूध वितरण गर्न गाउँपालिकाले प्रति विद्यार्थी रु.१५ का दरले अनुदान उपलब्ध गराउँछ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८२/०८३ मा रु.११ लाख ५० हजार बजेट बिनियोजन गरेको छ ।

४४ वटा बालविकास केन्द्र संघीय सरकारबाट अनुमति पाएका हुन् । एक वटा बालविकास केन्द्र गाउँपालिकाले सञ्चालन गरेको छ । तल्लो तहबाटै बालबालिकालाई सामुदायिक विद्यालयमा आकर्षित गर्ने, पोषण अवस्थामा सुधार गर्ने र बालबालिकको विद्यालयमा टिकाउ दर बढाउन गत आर्थिक वर्षदेखि शुरु गरेको दूध वितरण गर्ने कार्यक्रम प्रभावकारी बनेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताएका छन् ।

बहुक्षेत्रीय पोषणको अवधारणा अनुसार शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग अन्तरसमन्वय हुने कार्यक्रम सञ्चालन गरेको उनले बताएका छन् । गत वर्ष यस कार्यक्रमबाट तीन सय ७३ जना बालबालिका लाभान्वित भएका थिए । विद्यालय र बालविकास केन्द्रले गाउँपालिकामा उपलब्ध गराउने विद्यार्थी भर्नाको विवरणको आधारमा खातामा बजेट पठाउने गरिएको छ ।

विद्यालय र बालविकास केन्द्रले स्थानीय किसानसँग दूध किनेर बालबालिकालाई खुवाउने गरेका छन् । स्थानीय स्तरमै उत्पादन हुने दूधले बजार पाउनुका साथै गाईभैसी पाल्ने किसानलाई प्रोत्साहन मिलेको छ ।

कार्की नेतृत्वको सरकार, संसद विघटन र चुनाव घोषणा सबै असंवैधानिक : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभा विघटन र त्यसपछि गरिएको निर्वाचनको मिति घोषणालाई सभामुख देवराज घिमिरेले पूर्णतः असंवैधानिक करार गरेका छन् । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तथा उनको सिफारिसमा चलाइएका संवैधानिक प्रक्रियालाई चुनौती दिँदै उनले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका हुन् ।

कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् गठन र प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासले माग गरेको जवाफमा सभामुख घिमिरेले प्रधानमन्त्री नियुक्ति नै संविधानविपरीत भएको दाबी गरेका छन् । उनका अनुसार संविधानका पालक तथा संरक्षक राष्ट्रपतिबाटै संविधानसम्मत विधि नअपनाई प्रधानमन्त्री नियुक्तिका लागि पात्र नठहरिने व्यक्तिलाई सो पदमा पु–याइएको छ ।

घिमिरेले भनेका छन्, ‘संविधानले प्रतिनिधि सभाबाट निर्वाचित, विशेषतः बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने स्पष्ट व्यवस्था गरेको छ । तर सो व्यवस्था बेवास्ता गर्दै प्रतिनिधि सभाको सदस्य नै नभएको व्यक्ति प्रधानमन्त्री नियुक्त गर्नु संविधान तथा कानुनी शासनको मर्मविपरीत छ ।’ उनले संविधानको धारा १३२ लाई उद्धृत गर्दै सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधीश वा न्यायाधीशलाई न्यायिक पद बाहेक अन्य सरकारी जिम्मेवारीमा नखटाउने व्यवस्थालाई समेत उल्लंघन गरेर कार्कीलाई प्रधानमन्त्री बनाइएको टिप्पणी गरेका छन् । यसले संविधानवाद, शक्ति पृथकीकरण तथा कानुनी शासनको आधारभूत सिद्धान्तमै चोट पुर्‍याएको घिमिरेको तर्क छ ।

सभामुखले कार्कीले विगतमा एक फैसलामा आफूले नै राजनीतिक कारण देखाएर प्रधानन्यायाधीश तथा न्यायाधीशलाई कार्यपालिकामा पठाउने अभ्यास असंवैधानिक ठहर गर्नुपर्ने राय व्यक्त गरेको उदाहरण पनि उठाए । ‘आफैंले अवैधानिक ठहर गरेको अभ्यासलाई उल्टै दोहो¥याउनु संवैधानिक, कानूनी र नैतिक रूपमा अस्वीकार्य छ’, उनले भनेका छन् । जेन–जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि भदौ २३–२४ मा देखिएको राजनीतिक गतिरोधबीच सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाइएको थियो ।

भदौ २७ मा शपथ लिए लगत्तै उनले एक सदस्यीय मन्त्रिपरिषद्को बैठकबाट प्रतिनिधि सभा विघटनको सिफारिस राष्ट्रपतिसमक्ष पेस गराएकी थिइन् । सोही सिफारिसमा राष्ट्रपतिले फागुन २१ गतेका लागि आमनिर्वाचनको मिति सार्वजनिक गरेका थिए । तर संसद् विघटन र कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको विषयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतमा १७ वटा रिट दर्ता भएका छन् । ती सबै रिटमध्ये विपक्षी पक्षसँग मागिएको लिखित जवाफ सर्वोच्च अदालतले प्राप्त गरिरहेको छ, र मंसिर २२ गतेका लागि सुनुवाइको मिति निर्धारण गरिएको छ ।

जुम्लामा दुई मतदान केन्द्र थप गर्न सिफारिस

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले दुई वटा मतदान केन्द्र थप गर्न र एउटा केन्द्र स्थानान्तरण गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

जिल्लाको हिमा गाउँपालिका–१ र पातारासी गाउँपालिका–७ मा एक÷एक मतदान केन्द्र थप र तिला गाउँपालिका–९ मा एक मतदान केन्द्रको ठाउँ सार्न केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख नारायणी आचार्यले जानकारी दिएका छन् ।

आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न यही मङ्सिर ५ गतेसम्मको समयसीमा तोकेको छ । उनका अनुसार अहिले अनलाइनबाट आफ्नो मतदाता नामावली बनाउन सकिने व्यवस्था रहेकाले जिल्लामा करिब ८४९ जना नयाँ मतदाता थपिएका छन् । तीमध्ये ३७३ महिला र ४७६ पुरुष छन् ।

बाहिरी जिल्लाका ९७ जनाले जिल्लाबाट नयाँ मतदाता भरेका निमित्त कार्यालय प्रमुख आचार्यले उल्लेख गरेका छन् । जिल्लामा नयाँ मतदाता थपिनुअघि कूल ६७ हजार ७३६ मतदाता रहेका उनको भनाइ छ ।

निर्वाचन कार्यालयले गत असोजदेखि मतदाता नामावली सङ्कलन गर्दै आएको छ । मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको छ ।

एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लामा जिल्लाभरि ७९ मतदानस्थल र एक सय दुई मतदान केन्द्र रहेका निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । यसैबीच, कार्यालयले यहाँस्थित मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय बैठक गरी मतदाता नामावली सङ्कलन, मतदान केन्द्र, निर्वाचन प्रक्रियालगायत विषयमा छलफल अघि बढाएको छ ।

चितवनले १६ रनमै गुमायो दुई विकेट

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स विरुद्धको खेलमा चितवन राइनोज दबाबमा परेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको चितवन पहिलो ओभरमै विकेट गुमाउन पुगेको हो । चितवनका प्रारम्भिक ब्याटर डेभिड मलान शून्यमा आउट भए ।

उनलाई लुम्बिनीका रुबेन ट्रम्पलमेनले बोल्ड गरेका थिए । चौथो ओभरमा दीपक बोहरा १० रनमा आउट भएका छन् । उनलाई अभिनाष गौतमले आउट गरे । अहिले देव खनाल र रवि बोपारा क्रिजमा छन् ।

 

 

पनौती र रोशीका १२३ परिवारलाई खानेपानीको पहुँच

काभ्रेपलाञ्चोक । यहाँको दुई वडामा खानेपानी आयोजना सम्पन्न भएका छन् । पनौती नगरपालिका–२ कुशादेवी स्थित बोलखे गाउँको ६० परिवार र रोशी गाउँपालिका–११ भिमखोरीको ६३ परिवारमा प्रदेश सरकार तथा विभिन्न संस्थाको सहयोगमा खानेपानी व्यवस्थापन गरिएको हो ।
बोलखे गाउँमा खानेपानी व्यवस्थापनपछि सुरक्षित खानेपानीयुक्त समुदायसमेत घोषणा गरिएको छ ।

स्वीस सरकार र युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दिगो विकासका लागि नागरिक मञ्च ९सिविक० फोरमको सहजीकरणमा ६० घरधुरीमा खानेपानी पु¥याइएको हो । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागद्धारा गत साउन १५ गते जारी ‘सुरक्षित खानेपानीयुक्त समुदाय दिग्दर्शन पुस्तिका–२०८२’ अनुसूची–३ मा उल्लेखित न्यूनतम सूचक पुरा भएपछि ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिएको हो ।

रु ४० हजार श्रमदानसहित रु ३ लाख ४२ हजारको लागतमा निर्माण सम्पन्न उक्त खोनेपानी योजनाअन्तर्गत एक इन्टेक निर्माण गरी संरचनाको सुरक्षार्थ काँडेतारबार लगाईएको छ भने ४ सय मिटर पाइप, ‘एन्फो’ पानी परीक्षण किट खानेपानी सरसफाई तथा उपभोक्ता समितिलाई उपलब्ध गराइएको छ । प्रत्येक घरधुरीका सदस्यलाई सरसफाई प्रवद्र्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत गरिएको फोरमका कार्यकारी अधिकृत बसन्त कुँवरले जानकारी दिएका छन् । उनका अनुसार यस योजनामा पानी शुद्धिकरणका लागि स्वचालित ‘क्लोरिनेशन’ प्रणाली जडान गरिएको छ ।

यसैगरी बाग्मती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको आर्थिक सहयोगमा भिमखोरी खानेपानी तथा सरसफाई आयोजना मार्फत् ६३ परिवारका ३ सय ७२ लाभान्वित भएका छन् । रु ८४ लाख ६१ हजार २ सय ५९ र जनश्रमदान बापत रु ५ लाख ६२ हजार ६ सय ६२ गरी रु ९० लाख २३ हजार ९ सय २१ लागतमा आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन नम्बर ३ सिन्धुपाल्चोकका डिभिजन प्रमुख सृष्टि ख्वालपालले जानकारी दिएका छन् । उक्त आयोजनामार्फत ५ हजार ६ सय ५० मिटर टाढा रहेको मुहानबाट पानी ल्याएर प्रत्येक घरमा वितरण गरिएको हो ।

सिमरा घटनाबारे प्रचण्ड : हिंसा होइन, संयम आवश्यक

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाराको सिमरा क्षेत्रमा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेका छन् । उनले बिहीबार फेसबुकमार्फत सार्वजनिक गरेका अभिव्यक्तिमा सबै पक्षलाई शान्त र संयमित रहन आग्रह गरेका छन् ।

प्रचण्डले लोकतन्त्रमा राजनीतिक र वैचारिक मतभिन्नता स्वाभाविक भएको भए पनि, त्यसलाई हिंसा र उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति विपरीत भएको बताएका छन् । ‘सिमरामा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रचण्डले लेखेका छन्, ‘स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रण बाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन हार्दिक अनुरोध गर्दछु ।’

उनका अनुसार लोकतन्त्रमा मतभिन्नता प्राकृतिक भए पनि त्यसलाई हिंसा वा उत्तेजनामा बदल्नु लोकतान्त्रिक संस्कृतिविरुद्धको कदम हो । ‘लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन,’ प्रचण्डले भनेका छन् ।

उनले सबै दल र नेताहरूलाई राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै निर्वाधरूपमा हिँडडुल र सभा–सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । यसैगरी प्रचण्डले आगामी निर्वाचनको शान्तिपूर्ण र निष्पक्षतामा कुनै पनि नकारात्मक प्रभाव नपार्नका लागि सबै पक्षलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन् । ‘घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा सचेत र जिम्मेवार बन्न सबै पक्षसँग आग्रह गर्दछु,’ प्रचण्डले भने । अध्यक्ष प्रचण्डले स्थानीय पार्टी समितिहरूलाई घटनास्थलमा सहयोग र सहजीकरण गर्न निर्देशन दिएका छन् ।