`

‘दाजुभाइले मारकाट गर्नु र त्यसबाट विदेशीले लाभ लिनु लज्जाको कुरो हो’ : बीपी

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को जन्म वि.सं. १९७१ भदौ २४ गते भएको थियो । बीपी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रख्यात साहित्यकार हुन् ।

उनले नेपाली कांग्रेसको नेतृत्व गर्दै नेपालमा प्रजातन्त्र स्थापना र सुदृढीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरे । सन् १९५९ को पहिलो आम निर्वाचनपछि उनी प्रधानमन्त्री बने र करिब १८ महिनासम्म सरकारको नेतृत्व गरे ।

त्यसपछि राजनीतिक परिवर्तनका कारण उनले लामो समय जेल र निर्वासनमा जीवन बिताए । 

बीपी कोइराला घाँटीको क्यान्सरबाट पीडित थिए। उपचारका लागि भारत, बेलायत र अमेरिका पुगे । वि.सं. २०३९ साउन ६ गते काठमाडौंमा उनको निधन भयो ।

नेपाली राजनीतिक इतिहासमा जहानियाँ राणा शासनविरुद्धको संघर्ष संगठित रूपमा अघि बढाउने क्रममा २००३ सालमा ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ गठन भएको थियो।

जसले पछि ‘नेपाली राष्ट्रिय कांग्रेस’ को रूप लियो । यस संस्थाको स्थापना भारतमा रहेका नेपाली बुद्धिजीवी, राजनीतिक कार्यकर्ता तथा स्वतन्त्रता प्रेमीहरूको सक्रियतामा भएको थियो । त्यस आन्दोलनको नेतृत्वमा बीपी कोइरालाको महत्वपूर्ण भूमिका रहेको थियो ।

२००३ साल माघ १२ र १३ गते भारतको कोलकातामा सम्पन्न पहिलो महाधिवेशनमा यही संस्थालाई औपचारिक रूपमा नेपाली राष्ट्रिय कांग्रेसका रूपमा स्थापित गरियो । 

सो ऐतिहासिक महाधिवेशनमा बीपी कोइरालाले उद्घाटन सम्बोधन गरेका थिए। 

बीपीले सम्वोधन गरेको यो दुर्लभ भाषण:

‘साथी हो,

हाम्रो यस सभाले जति कुरामा विचार गर्नुपर्ने थियो। तपाईँहरू सन्मुख विभिन्न प्रस्तावका रूपमा ती सबै उपस्थित भइसके र तपाईँहरूले तिनीहरूमाथि आफ्नो स्वीकृति पनि दिइसक्नुभयो ।

वास्तवमा नेपाल र भारत दुई देश होइनन् । नेपाल जातीय, धार्मिक र आर्थिक दृष्टिबाट हरेक प्रकारले भारत वर्षकै एउटा प्रमुख अङ्ग रहेको देखिन्छ र आज राजनीतिक दृष्टिले जुन भिन्नता देखिन्छ। त्यसको मूलमा कूटनीतिज्ञ र स्वार्थी राजनीतिज्ञहरूको चालबाजी मात्र छ ।  

भारतलाई दासताको जुवा बोकाउने ब्रिटिश शासनले सन् १८५७ को भारतीय जनक्रान्तिपछि हिन्दूस्तानमा उसको राज्य केवल फुटले मात्र कायम हुनसक्छ भन्ने अनुभव गन्यो ।

 यसको प्रत्यक्ष दृष्टान्त ब्रिटेनले नेपाली र शिखहरूको सहायताबाट त्यस महान् आन्दोलनलाई विफल पार्न सक्नु थियो । त्यस आन्दोलनबाट ब्रिटिश राजनीतिज्ञहरूले शिक्षा लिएर ब्रिटिश राज्यमा भारतका सानासाना राज्यलाई गाभ्ने आफ्नो नीति छाडे । त्यसको परिणाम के भयो भने आजसम्म पनि हाम्रा साथी नेपालीहरू भारतवर्षका आफ्नै दाजुभाइहरूको स्वतन्त्रताको बाटोमा मूढो तेर्स्याउँदै छन् ।

उनीहरूमाथि शत्रुझैं गोली चलाउँदै छन् । आफ्नै देशका दुई थरी दाजुभाइले मारकाट गर्नु र त्यसबाट विदेशीले लाभ लिनु लज्जाको कुरो हो ।

नेपाललाई भारतभन्दा भिन्न देश घोषित गर्दा केवल ब्रिटिश साम्राज्यवादलाई मात्र लाभ छैन बरु यसबाट हाम्रा देशका स्वेच्छाचारी शासकहरूको पनि ठुलो स्वार्थसिद्ध हुन्छ । भनौं, यसैमा उनीहरूको अस्तित्व कायम रहन्छ । 

उनीहरूले भारतभन्दा भिन्न घोषित गरेर नै अशिक्षा र अज्ञानतामा राखिएका आफ्ना सोझा प्रजालाई मूर्ख बनाउँदै भारतवर्षमा चलिरहेको स्वतन्त्रता आन्दोलनबाट अलग राख्न र त्यसको बाधक बनाउन पनि सक्छन् । यसरी अलग हुँदा नेपालका प्रजा पनि उत्तरोत्तर बलवान् हुँदै गइरहेका आफ्ना भारतीय दाजुभाइ, दिदीबहिनीहरूको सहयोग र सहायताबाट वञ्चित हुनेछन् ।

तर, हामी त्यति सजिलै ठगिने छैनौं । ज्ञानको प्रखर ज्योतिले हाम्रा आँखा पनि बिस्तारो–बिस्तारो उघ्रन लागेका छन् । हामीहरूलाई यति चाँडै यतिका सहयोगी प्राप्त हुनु त्यसैको प्रमाण हो । हामीले अब अझै सङ्गठित भएर,

१.नेपालमा अहिंसात्मक साधनद्वारा जनताको सहयोगले उत्तरदायी शासनको स्थापना गर्ने । 

२.भारतीय स्वतन्त्रता-सङ्ग्राममा पनि पूर्ण सहयोग दिने आफ्नो संस्थाका यी उद्देश्यलाई प्रत्येक नेपाली दाजुभाइ, दिदीबहिनीको कानसम्म पुर्याएर उनीहरूको सहानुभूति र सहयोग प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ । 

किनभने जनताको राज्य स्थापित गर्नका लागि जनताकै सहायता चाहिन्छ । यो काम सम्पन्न गर्न लुकेर वा गुप्त सङ्गठनद्वारा त्यति सजिलो हुँदैन । नेपाल प्रजापरिषद्को विफलता र भारतमा क्रान्तिकारी ’दलको असफलताले यो कुरा सिद्ध गरिसकेको छ ।

म मान्दछु, नेपालको वर्तमान शासन प्रणाली शिथिल भइसकेको छ । सुधारवादीहरूको साधारणभन्दा साधारण कामले पनि अपराधी शासकहरू तर्सन्छन् र उनीहरूलाई बलपूर्वक हटाउन गाह्रो छैन । 

तर त्यस अवस्थामा मात्र यो काम सफल हुनसक्छ जब ब्रिटिश शक्ति आफ्ना सहायक यी कठपुतली शासकहरूको सहायताका लागि जनतालाई दमन गर्न तोप र तरबार लिएर हाजिर हुने छैन ।

 यही कारणले हामीले भारतमा ब्रिटिश शासनको अन्त्य गर्नका निमित्त भारतीय स्वतन्त्रता-सङ्ग्रामलाई पनि पूर्ण सहयोग दिने उद्देश्य राख्नु आवश्यक भएको हो । 

यसका अतिरिक्त एउटै उद्देश्य लिएर अग्रसर हुँदा भारत र नेपालका साथीहरूलाई पारस्परिक सहायताले पनि निकै बल दिनेछ र जर्जर भइसकेको ब्रिटिश शासनको नाश अझ छिटो गरिदिनेछ ।

 निःसन्देह, यो काम अखिल भारतीय काँग्रेस महासभाले लिएको अहिंसाको साधनबाटै हुनेछ । त्यसको अभेद्य शक्ति, सुरक्षित प्रयोग र स्थायी प्रभाव कसैको दृष्टिबाट लुकेको छैन ।

हाम्रा वर्तमान शासकहरूले ’हाम्रो देश नेपाल त अझै स्वतन्त्र छ’ भनेर आफ्ना सोझा प्रजालाई छक्याएको देख्दा हाँसो उठ्छ । के स्वतन्त्रताको लक्षण यही हो ? यहाँ रहेको देशव्यापी अशिक्षा र दरिद्रताले मानिस र पशुमा खासै अन्तर छैन । जनतालाई बोल्ने स्वतन्त्रता छैन । हिँड्ने स्वतन्त्रता छैन । विचार गर्ने स्वतन्त्रता छैन । रूने-हाँस्ने स्वतन्त्रता छैन । जनताको मान, इज्जत, जीवन, परिवार, धन, यश केही सुरक्षित छैन ।  

स्वेच्छाचारी शासक वर्गको मर्जी र हुकुमको अगाडि सबै निरीह छन् । यहाँ कानून भनेको केही पनि होइन । केवल प्रभुको हुकुम मात्र ठुलो कुरा हो । 

यो स्वतन्त्रता हो कि ? स्वतन्त्रताको उपहास ? जापान र टर्की पनि नेपालजत्रै राष्ट्र हुन् । तर, नेपाल र उनीहरूमा तुलना गर्नै मिल्दैन । उनीहरूभन्दा हामीहरू कुनै कुरामा हीन थियौँ ? तर किन हाम्रो यस्तो अवस्था छ ? प्रजालाई स्वतन्त्रताको धोकामा राख्ने नेपालका शासकहरूले यसको उत्तर दिन्नन् । हामीहरूले निकै पछि चेत्यौँ । 

संसार हामीभन्दा निकै अगाडि बढिसक्यो । उसलाई हामीहरूले दगुरेर भेट्टाउनुपर्‍यो । अब हामीसँग गँड्यौलाको चालले बामे सर्ने समय छैन । 

नेपाल सरकारले नगरपालिका र अरू त्यस्तै साधारण विभागमा काम गर्ने आफ्ना चाकरियालाई जनताका प्रतिनिधि हुन् भनेर प्रजाका आँखामा छारो हाल्ने समय उहिल्यै बितिसक्यो । हामी नेपालमा उत्तरदायी शासन स्थापना नभई कदापि सन्तुष्ट हुन सक्दैनौँ । 

नेपालको वर्तमान सरकारले जनताको भलो चाहन्छ भने अझै बढी हानि हुनुभन्दा पहिले नै शुद्ध मनले तुरुन्तै यस काममा तत्परता देखाओस् ।

यस सम्बन्धमा म एउटा कुरा अझ स्पष्ट पार्न चाहन्छु  । हाम्रो कुनै वर्ग वा सम्प्रदायसित कदापि शत्रुता छैन । नेपालमा बस्ने वा उससँग कुनै प्रकारको सम्बन्ध हुने सबै व्यक्ति हाम्रा दाजु हुन् ।

 देशको उपकार र उन्नति नै हाम्रो अभीष्ट र लक्ष्य हो । हामी केवल निरङ्कुश स्वेच्छाचार शासनप्रणालीका विरोधी हौं । त्यसकारण कुनै वर्गविशेषले हामीबाट व्यक्तिगत अनिष्ट हुने आशङ्का उचित छैन ।

 हाम्रा निमित्त सबैको सहायता ग्राह्य छ र हामी पनि जाति, वर्ग वा कुलको पर्वाह नगरी योग्यताको विचार गर्दै सबैको सहायक बन्नेछौँ । सम्पूर्ण राष्ट्रको उन्नति र अभ्युदयका लागि नै हामी प्रयत्नशील रहेका छौँ।

समय थोरै छ, काम ठुलो छ । यसकारण नेपाल राष्ट्रका प्रत्येक दाजुभाइ,दिदीबहिनीसित यस संस्थाका कुनै सदस्यले व्यक्तिगत रूपमा पुगेर सहयोग र सहायताका लागि प्रार्थना गर्ने बाटो नपर्खी स्वयं नै हामीलाई सहायता गर्न उपस्थित हुनका लागि नेपाली राष्ट्रिय काँग्रेसका तर्फबाट मेरो नम्र निवेदन छ । 

उनीहरूबाट सहायता प्राप्त गर्ने नै हाम्रो प्रयत्न हो । त्यसकारण उनीहरूले आफ्नो यो संस्थामा अविलम्ब स्वयं आएर यसलाई आफ्नो सहयोग दिँदै यसको शक्ति बढाउनुपर्छ । 

नेपालमा कुनै प्रकारको आर्थिक, राजनीतिक र सामाजिक सम्बन्ध भएका स्त्री-पुरूष यस संस्थाका सदस्य, प्रतिनिधि वा पदाधिकारी बन्न सक्छन् । 

तसर्थ, यस संस्थाको प्रारम्भ गर्न जनताबाट जस्तो उत्साहजनक सहयोग हामीलाई प्राप्त भयो, त्यो उत्तरोत्तर बढ्दै जानेछ र हामीलाई उत्साह, सहयोग र धनसम्बन्धी सहायताको अभाव कहिल्यै हुने छैन भन्ने आशा मात्र होइन, विश्वास पनि छ ।

दाताहरूको सहायतामा नेपाली भाषामै हाम्रो एउटा साप्ताहिक पत्रिका काशीबाट प्रकाशित हुने भएको छ भन्ने सूचना दिँदा मलाई हर्ष लागेको छ । 

यसद्वारा हामीहरू आफ्नो सन्देश, कार्यक्रमको सूचना र आफ्ना राजनीतिक, सामाजिक, धार्मिक र सांस्कृतिक विचारहरू आफ्ना दाजु-भाइ, दिदी-बहिनीहरूसम्म अति शीघ्र र सुगमतापूर्वक पुर्‍याउन सक्नेछौँ । 

यसबीच हाम्रा सन्देशहरू स-साना पुस्तिका तथा बुलेटिनमार्फत प्रचारित हुनेछन् । तिनीहरू सुगमतापूर्वक र छिटो प्राप्त गर्नका निमित्त हामीलाई विशेष चन्दा स्वरूप कम्तीमा पाँच रुपैयाँका साथ आफ्नो ठेगाना अपेक्षित छ ।

मलाई आदरपूर्वक सभापति बनाए बापत तपाइँहरूलाई पुनः धन्यवाद दिन्छु ।

-बन्देमातरम्!!!’

[स्रोतः नेपाली काँग्रेस ऐतिहासिक दस्तावेजहरू]

बालेनलाई बालेनको निर्देशन(भिडियो)

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको अवस्था स्पष्ट गर्न गृह मन्त्रालयलाई विवरण बुझाउन निर्देशन दिएको छ।

अहिले गृहमन्त्रालय प्रधानमन्त्री शाहकै मातहतमा रहेको छ। गृहमन्त्रालय उनले आफैले चलाउछन्। उपत्यकाका सुकुमवासी भत्काउने क्रममा गृहमन्त्रालयले गर्नुपर्ने सबै काम आफै गरे। 

प्रधानमन्त्री कार्यालयले हालै गरेको अध्ययनमा केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरिरहेको र कतिपयले विभिन्न निकायबाट दोहोरो सुविधा समेत लिइरहेको तथ्य फेला परेपछि गृह मन्त्रालयसँग पूर्ण विवरण माग गरिएको हो।

कार्यालयले पठाएको पत्रमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख तथा पूर्वराष्ट्रियसभा अध्यक्षहरूले उपभोग गरिरहेको सुविधाको विस्तृत विवरण आजै कार्यसमयभित्र इमेलमार्फत पठाउन निर्देशन दिइएको छ।

लामो समयदेखि पूर्वविशिष्टहरूले मापदण्डविपरीत सरकारी स्रोतसाधन दुरुपयोग गरिरहेको आलोचना भइरहेका बेला सरकारले देखाएको यो सक्रियता महत्वपूर्ण मानिएको छ। गृह मन्त्रालयबाट विवरण आएपछि मापदण्डभन्दा बढी सुविधा उपभोगकर्ताबाट सवारी साधन फिर्ता गराउने र समग्र प्रक्रियालाई व्यवस्थित बनाउने सरकारको तयारी रहेको बताइन्छ।

सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्रालय खाली छ। 

गुरुङले विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानी प्रकरण सार्वजनिक भएपछि नैतिकताको आधारमा राजीनामा दिएका थिए। तर राजीनामा दिएको १५ दिन बढी बित्दासमेत उनीमाथि छानबिन गर्ने सरकारको कुनै सुरसार छैन। उल्टै, छानबिन खोई ? खोलाले बगायो  भन्ने जस्तै अवस्था बनेको छ। बरु प्रधानमन्त्री शाह गृहमन्त्री गुरुङलाई दोहोर्याउन चाहन्छन् भन्ने चर्चा भने हुन छाडेको छैन। 

राज्यका विभिन्न निकाय खाली : बालेनलाई आफ्ना मान्छे भर्ना गर्ने बाटो खुला

काठमाडौ‌ं। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश, २०८३ जारी गरेसँगै नेपालको संवैधानिक नियुक्ति प्रणाली फेरि एकपटक गहिरो राजनीतिक बहसको केन्द्रमा पुगेको छ। 

बिगत लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायहरूमा नियुक्ति प्रक्रिया सहज बनाउन ल्याइएको अध्यादेश भनिए पनि यसले शक्ति सन्तुलन र संस्थागत नियन्त्रणमाथि गम्भीर प्रश्न उठाएको छ।

प्रधानमन्त्री शाह नेतृत्वको सरकारलाई संवैधानिक परिषद् बैठकमा आवश्यक गणपूरक संख्या कम भए पनि निर्णय गर्न सक्ने अधिकार दिइएको छ। यसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महालेखा परीक्षक, मानवअधिकार आयोगलगायत १४ संवैधानिक निकायमा लामो समयदेखि रोकिएको नियुक्ति प्रक्रिया अघि बढाउने बाटो खुला गरेको छ।

तर यही व्यवस्थालाई लिएर संविधानविद्हरू विभाजित देखिएका छन्। भीमार्जुन आचार्यका अनुसार, बैठकको वैधताका लागि ४ सदस्य आवश्यक भए पनि निर्णयका लागि सोभन्दा कम सदस्यले निर्णय गर्न सक्ने व्यवस्था असन्तुलित र असामान्य हो ।  

उनका अनुसार यस्तो संरचनाले निर्णय शक्ति सीमित समूहमा केन्द्रित हुने जोखिम बढाउँछ।

त्यस्तै संविधानविद् विपिन अधिकारीले पनि यो अभ्यासलाई लोकतान्त्रिक नियन्त्रण र सन्तुलन कमजोर पार्ने दिशामा रहेको टिप्पणी गरेका छन्। 

उनका अनुसार संवैधानिक निकायहरू राजनीतिक प्रभावबाट टाढा रहनुपर्नेमा उल्टै निर्णय प्रक्रियालाई राजनीतिक नेतृत्वमै निर्भर बनाउने संकेत देखिन्छ।

राष्ट्रपति कार्यालयका कानुनी सल्लाहकार बाबुराम कुँवरका अनुसार सरकारलाई पुनर्विचार गर्न सुझाव दिइए पनि अन्ततः संवैधानिक प्रक्रियाअनुसार अध्यादेश जारी गरिएको हो। 

उनका भनाइमा, लामो समयदेखि रोकिएको नियुक्ति प्रक्रिया अघि बढाउनु राज्य सञ्चालनका दृष्टिले पनि आवश्यक थियो।

अध्यादेशपछि अब राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा समेत संवैधानिक परिषद् बैठक सञ्चालन गर्न सकिने सम्भावना बढेको छ। 

यसले निर्णय प्रक्रिया छिटो हुने अपेक्षा गरिएको भए पनि विपक्षी दल र कानुनी विज्ञहरूले यसलाई संस्थागत सन्तुलन कमजोर बनाउने कदमका रूपमा व्याख्या गरेका छन्।

लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायहरूमा नियुक्ति नहुँदा प्रशासनिक कार्यसम्पादन र निगरानी प्रणाली कमजोर भएको तर्क सरकार पक्षले गर्दै आएको छ। 

तर नियुक्ति प्रक्रिया सहज बनाउने नाममा शक्ति केन्द्रिकरण बढ्ने हो कि भन्ने प्रश्नले राजनीतिक बहस झनै तातिएको छ।

अन्तत: अध्यादेशले एकातर्फ संस्थागत रिक्तता भर्ने अवसर दिएको छ। भने अर्कोतर्फ संवैधानिक संरचनाको मूल सिद्धान्तमै पुनः बहस सुरु गरिदिएको छ। 

जसको प्रभाव आगामी दिनमा नेपालको राजनीतिक स्थिरता र शासन प्रणालीमा समेत देखिन सक्ने विश्लेषकहरूको धारणा छ।

‘छ माया छपक्कै २’ को छायाङ्कन सुरु

काठमाडौं। नेपाली फिल्म छ माया छपक्कै २ को छायाङ्कन सुरु भएको छ। निर्माण युनिटका अनुसार फिल्मको छायाङ्कन बुधवार गागलफेदीबाट सुरु गरिएको हो।

सन् २०१९ मा प्रदर्शन भएको सफल फिल्म छ माया छपक्कै को सिक्वेलका रूपमा निर्माण हुन लागेको यस फिल्मको निर्देशन दीपेन्द्र लामा ले गर्नेछन्।

सामाजिक-राजनीतिक कथावस्तुमा आधारित फिल्मको छायाङ्कन करिब ५० दिनको सेडुलमा सम्पन्न गरिने जनाइएको छ। फिल्ममा केकी अधिकारी, दीपकराज गिरी र सनिशा भट्टराई को मुख्य भूमिका रहनेछ।

फिल्मका निर्माता रोहित अधिकारी हुन्। रोहित अधिकारी फिल्मस र आमा सरस्वती मूभिजको ब्यानरमा निर्माण भइरहेको फिल्मको प्रस्तुतकर्ता आइएमई ग्रुप रहेको छ।

निर्माण पक्षका अनुसार फिल्मलाई आउँदो दसैँको अवसर पारेर प्रदर्शनमा ल्याइने तयारी गरिएको छ।

२०० जनाको सफल मिर्गौला प्रत्यारोपण

ललितपुर । किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गत सञ्चालनमा रहेको किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले २०० वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। निजी क्षेत्रका अस्पतालहरूमध्ये यो उपलब्धि महत्वपूर्ण मानिएको छ।

अस्पतालका अनुसार सेन्टरले अन्तर्राष्ट्रिय स्तरसँग तुलना गर्न मिल्ने सफलता दर कायम गर्दै नेपालकै अग्रणी मिर्गौला प्रत्यारोपण केन्द्रका रूपमा पहिचान बनाएको छ। स्थापना कालदेखि नै आधुनिक प्रविधि र गुणस्तरीय उपचारमा जोड दिँदै आएको सेन्टरले अनुभवी चिकित्सक तथा प्राविधिक टोलीको सहयोगमा उल्लेखनीय नतिजा हासिल गरेको जनाएको छ।

सेन्टरमा जीवित दाताबाट मिर्गौला प्रत्यारोपण गरिँदै आएको छ। दाताको स्वास्थ्य सुनिश्चित गर्न विस्तृत परीक्षण गरिनुका साथै शल्यक्रियापछि नियमित निगरानीसमेत गरिन्छ।

त्यसैगरी ‘पेयर्ड एक्सचेन्ज’ प्रणालीमार्फत दाता नमिलेका बिरामीहरूलाई पनि प्रत्यारोपणको अवसर दिइँदै आएको छ। यस विधिमा दुई बिरामी–दाता समूहबीच आपसी मिलान गरी मिर्गौला साटासाट गरेर प्रत्यारोपण गरिन्छ।

ल्यापारोस्कोपिक प्रविधिबाट गरिने शल्यक्रियाले दातालाई कम पीडा, कम रक्तस्राव र छिटो निको हुने सुविधा दिएको अस्पतालले जनाएको छ।

सेन्टरले गुणस्तरीय, सुरक्षित र पहुँचयोग्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै आगामी दिनमा अझ धेरै बिरामीलाई सेवा दिने लक्ष्य लिएको उल्लेख गरेको छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक (तस्वीरहरु)

काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बुधवार बसेको छ ।

बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयमाबसेको हो।

बैठकमा समितिको कार्यक्षेत्र, आगामी कार्यदिशा तथा समसामयिक विषयमा छलफल भयो ।

 

काठमाडाैंबाट कन्दङवा फेरि पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर (चेक अनादर) मुद्दामा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार तेह्रथुमको फिदिम नगरपालिका-४ घर भएकी ५८ वर्षीया सलिजा कन्दङवालाई काठमाडौँ महानगरपालिका-३१ भीमसेनगोला क्षेत्रबाट पक्राउ गरिएको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार दीपक विश्वकर्माको जाहेरीका आधारमा कन्दङवालाई नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध चेक अनादरसम्बन्धी मुद्दामा करिब ४० लाख रुपैयाँ बिगो रहेको बताइएको छ।

पक्राउ परेकी कन्दङवालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पाँचथर पठाइएको प्रहरीले जनाएको छ।

दयाहाङ र सौगात ‘मितज्यू’बाट मार्फत एउटै पर्दामा आउने

काठमाडौं। नेपाली फिल्मका दुई स्थापित तथा लोकप्रिय अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ल पुनः एकपटक एउटै पर्दामा देखिने भएका छन्। आगामी जेठ ८ गते प्रदर्शनमा आउने फिल्म मितज्यू मार्फत यी दुई कलाकारको चर्चित सहकार्य फेरि दर्शकमाझ आउन लागेको हो।

नेपाली फिल्म क्षेत्रमा दयाहाङ र सौगात सशक्त अभिनय र फरक-फरक पात्रका लागि परिचित छन्। उनीहरूको अभिनय शैली र पात्र निर्माण क्षमताका कारण दुवै कलाकार निर्माता–निर्देशकको पहिलो रोजाइमा पर्ने गरेका छन्।

यसअघि लुट र कबड्डी जस्ता सफल फिल्ममा सँगै काम गरेका यी दुई कलाकारको केमेस्ट्री दर्शकमाझ निकै लोकप्रिय बनेको थियो। विशेषगरी उनीहरूबीच देखिने तनाव, नोकझोक र प्रतिस्पर्धात्मक सम्बन्धले कथालाई थप आकर्षक बनाउने गरेको अनुभव छ।

आगामी फिल्म ‘मितज्यू’ ले पनि यही अपेक्षालाई निरन्तरता दिने संकेत गरेको छ। सार्वजनिक पोस्टर र टीजरमा दुवै कलाकार आमनेसामने देखिन्छन्, जहाँ उनीहरूको सम्बन्धमा नजिकपनसँगै मनोवैज्ञानिक द्वन्द्वको झल्को पनि स्पष्ट देखिन्छ।

निर्माण पक्षका अनुसार फिल्मको मुख्य आकर्षण नै दयाहाङ र सौगातबीचको मनोवैज्ञानिक टकराव हो। निर्माता जनक घर्ती मगरले पात्रको बनोट र द्वन्द्वले दर्शकलाई फरक अनुभव दिने विश्वास व्यक्त गरेका छन्।

अनिल बुढा मगर को निर्देशनमा बनेको यस फिल्ममा तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछानेलगायत कलाकारको अभिनय रहेको छ। तेरिया फौजा मगरको यो डेब्यू फिल्म पनि हो।

प्राविधिक पक्षतर्फ लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन र श्रीकृष्ण बम मल्लको संगीत रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटल ले खरिद गरिसकेको छ।

दयाहाङ र सौगातको पुरानो सफल सहकार्यलाई आधार मान्दा ‘मितज्यू’ ले पनि दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ।

पश्चिम बंगालमा चुनावपछि चार जनाको हत्या : ममताको कार्यालयमा चल्यो डोजर

 

कोलकाता । भारतको पश्चिम बंगालमा निर्वाचन परिणामपछि हिंसात्मक घटना सुरु भएको छ। उत्तर २४ परगना जिल्लाको सन्देशखालीस्थित बामनघेरी क्षेत्रमा मंगलबार राति गस्तीमा रहेको प्रहरी र केन्द्रीय सुरक्षाबलमाथि आक्रमण भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार अज्ञात समूहले गोली प्रहार गर्दा पाँच जना सुरक्षाकर्मी घाइते भएका छन्। घाइते हुनेहरूमा नाजाट प्रहरी चौकीका प्रमुख, एक प्रहरी जवान, एक महिला प्रहरी र केन्द्रीय बलका दुई जवान रहेका छन्।

पछिल्लो २४ घण्टामा राज्यका विभिन्न स्थानमा चार जनाको हत्या भएको रिपोर्ट आएको छ। मृतकमध्ये भारतीय जनता पार्टी र तृणमूल कांग्रेसका दुई-दुई कार्यकर्ता रहेको जनाइएको छ।

भारतीय जनता पार्टीले उत्तर २४ परगना क्षेत्रका न्यू टाउन र हावडाको उदय नारायणपुरमा आफ्ना दुई कार्यकर्ताको हत्या तृणमूल कांग्रेसका कार्यकर्ताबाट भएको आरोप लगाएको छ। यता, तृणमूल कांग्रेसले कोलकाताको बेलेघाटा र वीरभूमको नानुरमा आफ्ना दुई कार्यकर्ताको हत्या भएको दाबी गरेको छ।

यसैबीच, कोलकाताको न्यू मार्केट क्षेत्रमा भीडले तृणमूल कांग्रेसको पार्टी कार्यालय डोजर प्रयोग गरी भत्काएको छ। साथै आसपासका पसलहरूमा समेत तोडफोड भएको छ।

तृणमूल कांग्रेसले सामाजिक सञ्जालमार्फत चुनावपछि ‘परिवर्तन’को नाममा हिंसा फैलिएको आरोप लगाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ।

ट्रम्पले किन उतारे युरोपमा ८४ सैनिक ?

एजेन्सी। संयुक्त राज्य अमेरिका युरोपमा आफ्नो सैन्य उपस्थिति अझै विस्तार गर्दै गएको छ। अनुसन्धानकर्ताहरूका अनुसार अमेरिका दर्जनौं सैन्य अड्डामार्फत युरोपमा सक्रिय छ, जहाँ करिब ८० हजारभन्दा बढी सैनिक तैनाथ छन्।

दोस्रो विश्वयुद्धपछि युरोपको सुरक्षा संरचनामा अमेरिकाको उपस्थिति प्रमुख आधारका रूपमा रहँदै आएको छ। हाल यो उपस्थिति मुख्यतः जर्मनी, इटाली, बेलायत र पोल्याण्डमा केन्द्रित छ।

काउन्सिल अन फरेन रिलेसन्सका अनुसार सन् २०२५ को सुरुवातसम्म युरोपमा अमेरिकी सैनिकहरूको संख्या करिब ८४ हजार रहेको छ। युक्रेन युद्धपछि पूर्वी युरोपमा थप तैनाती हुँदा यो संख्या केही समय ७५ हजारदेखि १ लाख ५ हजारसम्म पुगेको पनि उल्लेख गरिएको छ।

सबैभन्दा ठूलो अमेरिकी सैन्य उपस्थिति जर्मनीमा छ। यहाँ रामस्टाइन एयर बेस रहेको छ, जुन अमेरिका बाहिरको सबैभन्दा ठूलो हवाई अड्डा मानिन्छ। युरोप र अफ्रिकाका लागि अमेरिकी सेनाको मुख्यालय स्टुटगार्टमा तथा युरोप कमान्डको केन्द्र विसबाडेनमा अवस्थित छ। जर्मनीमा मात्र करिब ३८ हजार अमेरिकी सैनिक तैनाथ छन्।

इटालीमा पनि अमेरिकी सेनाको उल्लेखनीय उपस्थिति छ। यहाँ पाँचवटा अड्डा सञ्चालनमा छन्, जसमा एवियानो एयर बेस प्रमुख हो। करिब ८ हजारभन्दा बढी अमेरिकी सैनिक यहाँ तैनाथ छन्। सिगोनेला नौसैनिक अड्डा र नेपल्सस्थित कमान्ड केन्द्र भूमध्यसागरीय रणनीतिका दृष्टिले महत्वपूर्ण मानिन्छ।

बेलायतमा पनि आरएएफ लेकनहीथ, मिल्डेनहोल र फेयरफोर्ड जस्ता महत्वपूर्ण अड्डाहरू छन्, जहाँ एफ-३५ लडाकु विमानदेखि बमवर्षक विमानसम्म तैनाथ गरिएका छन्। पोल्याण्डमा रेडजिकोभो, लास्क एयर बेस र अन्य अग्रिम अड्डाहरूले नेटोको पूर्वी सुरक्षा रणनीतिमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

टर्कीको इन्सिरलिक एयर बेस पनि अमेरिका र नेटोका लागि मध्यपूर्व तथा भूमध्यसागर क्षेत्रमा रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ।

अमेरिकी सेनाको भूमिकामा सीमा सुरक्षा, सैन्य सामग्री आपूर्ति, प्रशिक्षण र संयुक्त सैन्य अभ्यास समावेश छन्। जर्मनीको बुसेल एयर बेसमा अमेरिकी सैनिकहरूले आणविक बमहरूको सुरक्षा जिम्मा पनि सम्हाल्दै आएका छन्।

युक्रेन युद्धपछि अमेरिका युक्रेनी सेनालाई हतियार, गोला-बारुद र सैन्य प्रशिक्षण उपलब्ध गराउन अझ सक्रिय बनेको छ। यसले युरोपमा अमेरिकी सैन्य संरचना केवल सुरक्षा होइन, रणनीतिक र भू-राजनीतिक प्रभाव विस्तारको आधार बनेको विश्लेषण गरिएको छ।

नेप्से ओरालो लाग्यो

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक १.६४ अंकले घटेर २७११.२२ बिन्दुमा कायम भएको हो।

आज कुल ३३६ कम्पनीका ७१ लाख ३१ हजार ५५७ कित्ता सेयर ४७ हजार ८४१ पटक खरिदबिक्री हुँदा ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

उपसमूहगत प्रदर्शनमा बैंकिङ ०.१६, वित्त ०.१९, होटल तथा पर्यटन ०.२२, लगानी ०.४०, लघुवित्त ०.४८, म्युचुअल फन्ड ०.८०, निर्जीवन बिमा ०.१९ र अन्य समूह ०.०३ प्रतिशतले बढेका छन्।

तर विकास बैंक ०.५१, जलविद्युत् ०.४३, जीवन बिमा ०.३२ र उत्पादन तथा प्रशोधन समूह ०.५६ प्रतिशतले घटेका छन्। समग्र बजारमा अधिकांश सूचकमा दबाब देखिएको छ।

आजको कारोबारमा फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १३.७४ प्रतिशतले बढेको छ भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.९० प्रतिशतले घटेको छ।

चिप उद्योगमा मजबुत हुन खोज्दै भारत

एजेन्सी। विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति शृङ्खलामा आफ्नो स्थान मजबुत बनाउने लक्ष्यसहित भारतले ४१ करोड ४० लाख अमेरिकी डलर बराबरका दुई नयाँ सेमिकन्डक्टर परियोजनालाई स्वीकृति दिएको छ। यस निर्णयले भारतलाई इलेक्ट्रोनिक्स उत्पादन र चिप निर्माणको उदीयमान केन्द्रका रूपमा स्थापित गर्ने सरकारी रणनीतिलाई थप गति दिने अपेक्षा गरिएको छ।

सरकारले सोमबार राति स्वीकृत गरेका यी परियोजनामध्ये एक एलईडी डिस्प्ले उत्पादन सुविधा हो भने अर्को सेमिकन्डक्टर प्याकेजिङ युनिट हो। यी दुई परियोजना थपिएसँगै भारतमा सेमिकन्डक्टरसम्बन्धी परियोजनाको संख्या १२ पुगेको छ। यस क्षेत्रमा हालसम्म करिब १७ अर्ब २० करोड डलर बराबरको लगानी प्रतिबद्धता रहेको बताइएको छ।

भारतले सन् २०२१ देखि घरेलु चिप उत्पादन क्षमता विस्तार गर्ने रणनीति अघि बढाउँदै आएको छ। आयातमा निर्भरता घटाउने, आपूर्ति प्रणाली सुरक्षित बनाउने र प्रविधिमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले निर्माण, डिजाइन र प्याकेजिङ पूर्वाधारमा निरन्तर लगानी बढाइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यी परियोजनालाई भारतलाई विश्वव्यापी सेमिकन्डक्टर मूल्य शृङ्खलामा अग्रणी बनाउने दीर्घकालीन योजनाको महत्वपूर्ण हिस्सा भएको बताएका छन्। उनका अनुसार यस क्षेत्रको विकासले आर्थिक रूपान्तरणलाई तीव्र बनाउने, प्रविधिमा आत्मनिर्भरता सुदृढ गर्ने र नवप्रवर्तनमा आधारित प्रणालीलाई मजबुत बनाउनेछ।

सरकारी विवरणअनुसार एलईडी परियोजना मिनी र माइक्रो डिस्प्ले मोड्युल उत्पादनमा केन्द्रित रहनेछ। यसअन्तर्गत कम्पाउन्ड सेमिकन्डक्टर निर्माणसम्बन्धी एकीकृत सुविधा स्थापना गरिनेछ। त्यस्तै, प्याकेजिङ युनिटले अटोमोबाइल, औद्योगिक र उपभोक्ता इलेक्ट्रोनिक्सका लागि आवश्यक चिप समाधान उपलब्ध गराउने लक्ष्य राखेको छ।

यी पहलले भारतको उच्चस्तरीय चिप डिजाइन क्षमतालाई पूरक सहयोग पुर्‍याउने र समग्र सेमिकन्डक्टर पारिस्थितिकी प्रणालीलाई सुदृढ बनाउने सरकारको विश्वास छ।

भारतको चिप बजार पनि तीव्र गतिमा विस्तार भइरहेको छ। सन् २०२३ मा करिब ३८ अर्ब डलर रहेको बजार सन् २०२४-२५ सम्म ४५ देखि ५० अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ। सरकारको लक्ष्य भने सन् २०३० सम्म यस क्षेत्रलाई एक खर्ब डलरको स्तरमा पुर्‍याउने रहेको छ।

यसअघि स्वीकृत कतिपय उत्पादन केन्द्रहरूले सञ्चालन सुरु गरिसकेका छन् भने केही परियोजनाले व्यावसायिक उत्पादन र ढुवानीसमेत सुरु गरिसकेको बताइएको छ, जसले भारतको सेमिकन्डक्टर उद्योग विस्तारको गति झन् स्पष्ट बनाएको छ।

बालेनको स्वास्थ्य सल्लाहकारमा नियुक्त डा. अग्रवाल नियुक्त

काठमाडौं। सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त जिम्मेवारीमा नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्वडीनसमेत रहेका अग्रवालले अब प्रधानमन्त्रीलाई स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्यका चुनौती र चिकित्सा शिक्षासम्बन्धी सुधारका विषयमा परामर्श दिनेछन्।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार अनुभवी चिकित्सक अग्रवालको नियुक्तिले सरकारलाई स्वास्थ्य नीति निर्माण र सेवा सुधारमा महत्वपूर्ण प्राविधिक सहयोग मिल्ने अपेक्षा गरिएको छ। उनले अग्रवालले कुनै पारिश्रमिक नलिई अवैतनिक रूपमा सेवा दिने पनि स्पष्ट गरिन्।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै आएको सन्दर्भमा यो नियुक्तिलाई रणनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

डा. अग्रवालले राज्यबाट कुनै आर्थिक सुविधा नलिई विशेषज्ञ सल्लाहकारका रूपमा आफ्नो ज्ञान र अनुभव प्रदान गर्नेछन्।

‘जहाँ छचल्किए भावना’ नियात्रासंग्रह लोकार्पण

काठमाडौं। नियात्राकार निर्मलकुमार आचार्य को नियात्रासंग्रह ‘जहाँ छचल्किए भावना’ एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ।

पर्वतीय साहित्य समाज नेपालका अध्यक्ष तथा वरिष्ठ नियात्राकार प्रतीक ढकाल, श्रीओम श्रेष्ठ ‘रोदन’ र प्रा.डा. भरतकुमार भट्टराई लगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन्।

कार्यक्रममा अध्यक्ष ढकालले यात्रा गर्नु विश्वविद्यालय शिक्षाभन्दा पनि बढी ज्ञानवर्द्धक हुने उल्लेख गर्दै आचार्यको कृति पनि त्यही स्तरको ज्ञान दिने खालको रहेको बताए।

त्यसैगरी नियात्राकार ‘रोदन’ले ‘जहाँ छचल्किए भावना’ लाई सफल नियात्रा कृति भन्दै यसले पाठकलाई लेखकसँगै यात्रा गराउने क्षमता राख्ने बताए। प्रा.डा. भट्टराईले कृतिको समीक्षा गर्दै यसलाई सुन्दर र सुललित शैलीमा लेखिएको कृति भएको टिप्पणी गरे।

लेखक निर्मलकुमार आचार्यले आफ्ना शुभेच्छुकहरूको निरन्तर प्रोत्साहनका कारण कृति प्रकाशन गर्न सफल भएको बताउँदै पाठकलाई आफ्ना कमजोरी औँल्याइदिन आग्रह गरे।

लोकार्पित कृति रमिला आचार्य अर्यालले प्रकाशन गरेकी हुन्। यस कृतिमा २८ वटा नियात्रा समेटिएका छन्, जसमा ४ धाम, १२ ज्योतिर्लिङ्ग, कैलास, मानसरोवरसहित नेपाल, भारत र चीनका यात्राका अनुभव, देखाइ, भोगाइ र अध्ययन समेटिएको छ।

आचार्य गोरखापत्र राष्ट्रिय दैनिकका पूर्वप्रधान सम्पादक हुन्। उनले साहित्य क्षेत्रमा निबन्ध, गीत, सहलेखन र सम्पादनमार्फत पनि योगदान दिँदै आएका छन्।

‘एमआरपी’को भुइँचालो : भन्सारमा ४ सय बढी ट्रक अलपत्र

विराटनगर। विराटनगरस्थित रानीमा रहेको एकीकृत भन्सार जाँच चौकीमा ४ सयभन्दा बढी मालवाहक ट्रक अलपत्र परेका छन्।

तयारी वस्तु आयातमा भन्सार विन्दुमै अधिकतम बिक्री मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने नयाँ नियम लागू भएपछि मालवस्तु लिएर आएका ट्रकहरू रोकिएका हुन्।

सरकारले तयारी वस्तुमा अनिवार्य रूपमा अधिकतम बिक्री मूल्य तोक्ने व्यवस्था लागू गरेपछि पछिल्लो आठ दिनदेखि सीमामा ट्रकहरू जाँचपास हुन नसकेका हुन्।

यस कारण अर्बौँ रुपैयाँ बराबरका उपभोग्य तथा औद्योगिक सामग्रीहरू अलपत्र परेका छन्।

भन्सार विभागले वैशाख १६ गते निर्देशन जारी गर्दै औद्योगिक कच्चा पदार्थ, मेसिनरी उपकरण र छिटो नष्ट हुने वस्तुका लागि ‘स्वघोषणा’ गर्न सकिने लचिलो व्यवस्था प्रस्ताव गरेको थियो। तर उक्त प्रस्तावलाई प्रधानमन्त्री तहबाट अस्वीकार गरिएपछि वैशाख १५ गतेदेखि सुरु भएको समस्या अझ जटिल बनेको बताइएको छ।

आयातित ट्रकहरूमा सौन्दर्य सामग्री, तयारी पोसाक, खाद्यान्न, बिउबिजन, टायर तथा अन्य दैनिक उपभोग्य वस्तुहरू रहेका छन्।

लामो समयसम्म सामान खुला स्थानमा रोकिँदा गुणस्तरमा असर पर्ने र बजारमा अभाव सिर्जना भई मूल्यवृद्धि हुन सक्ने व्यवसायीहरूले बताएका छन्।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार माथिल्लो निकायबाट स्पष्ट निर्देशन नआएसम्म एमआरपी नभएका वस्तुहरूको जाँचपास गर्न नसकिने अवस्था रहेको छ।

६ पाटेबाघ मरे

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पाटेबाघको मृत्युका घटनाहरू बढेका छन्। पछिल्लो पटक सोमबार सिजीघाट नजिक करिब दुई वर्षको एक भाले बाघ मृत अवस्थामा फेला परेपछि यस वर्ष मरेका बाघको संख्या ६ पुगेको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृत भेटिएका बाघमध्ये दुई वटा भाले र तीन वटा पोथी रहेका छन्। भने एउटा बाघको लिङ्ग पहिचान हुन सकेको छैन।

उनका अनुसार केही बाघ आपसमा जुधेर मरेका छन् भने केही उद्धार प्रक्रियाकै क्रममा ज्यान गुमाएका छन्। एउटा बाघ भने प्राकृतिक कारणले मरेको अनुमान गरिएको छ।

अघिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज मा १२८ वटा पाटेबाघ रहेका थिए। यस वर्ष गरिएको नयाँ गणनाको नतिजा भने हालसम्म सार्वजनिक गरिएको छैन।

संवैधानिक परिषद् अध्यादेशमा सरकारको नियतमाथि गगनको प्रश्न, कांग्रेसको कडा आपत्ति

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारप्रति कडा टिप्पणी गर्दै कांग्रेसले प्रश्न गर्ने, खबरदारी गर्ने र आवश्यक विकल्प समेत प्रस्तुत गर्ने भूमिका निरन्तर निर्वाह गरिरहेको बताएका छन्।

कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए। उनले ‘बालेन सरकार भ्रममा छ’ भन्दै वर्तमान सरकारलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालसँग तुलना गरे।

थापाले संविधानअनुसार अध्यादेश ल्याउने व्यवस्था भए पनि त्यसको नियत के हो भन्ने कुरा महत्वपूर्ण हुने बताए। उनले अहिले ल्याइएका केही अध्यादेशप्रति गम्भीर प्रश्न उठेको उल्लेख गर्दै संसदमा आउने प्रतिस्थापन विधेयकमार्फत आवश्यक संशोधन गर्नुपर्ने धारणा राखे।

विशेषगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति रहेको उनले स्पष्ट पारे। उनले संवैधानिक परिषद्लाई ‘वाचडग’ को रूपमा परिकल्पना गरिएको भन्दै सरकार प्रमुखको मनोमानी रोक्न यसको व्यवस्था गरिएको बताए।

तर विभिन्न प्रधानमन्त्रीहरूले संविधानमै छेडखानी गर्दै आएको आरोप लगाउँदै उनले हालका प्रधानमन्त्रीले समेत संवैधानिक परिषद्मा बहुमत सुनिश्चित हुने गरी संशोधन गरेर ‘जालझेल’ गरेको टिप्पणी गरे। उनका अनुसार प्रधानमन्त्री, सभामुख र कानुनमन्त्री मिलेर बहुमत कायम हुने गरी गरिएको संशोधन गलत अभ्यास हो।

थापाले संविधानमाथि यस्तो प्रकारको हस्तक्षेप स्वीकार्य नहुने भन्दै सरकारलाई जिम्मेवार बन्न आग्रह समेत गरे।

राष्ट्रपतिले अध्यादेश जारी गरेपछि प्रधानमन्त्री बालेनलाई सजिलो, संवैधानिक परिषद्को बैठक बस्दै(भिडियो)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री बालेन्द्र शाहले परिषद्को बैठक आह्वान गरेका छन्।

अध्यादेशले महत्वपूर्ण संवैधानिक पदहरु पुर्ती गर्न शाहको निर्णयलाई निर्णयाक हुने गरी व्यवस्था गरेको छ। अर्थात् राष्ट्रपतिले जारी गरेको अध्यादेशले संवैधानिक परिषद्को बैठकमा निर्णयका लागि प्रधानमन्त्री जतातिर उभियो त्यसलाई नै अन्तिम निर्णय बनाउनेछ।  यसअघि ६ सदस्यीय परिषद् मा  चार जनाको बहुमतबाट निर्णय गर्ने व्यवस्था थियो। 

बैठक सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आह्वान गरिएको हो । सर्वोच्च अदालतकी वरिष्ठ न्यायधिश सपना प्रधान मल्लको प्रधानन्यायधिश बन्ने चर्चा हुँदै आएको छ।   

संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो। सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको प्रधानमन्त्री कार्यलयकी प्रमुख प्रेस सल्लाहकार दीपा दाहालले जानकारी गराएकी छन् । सर्वोच्च अदालतको नेतृत्वसम्बन्धी महत्वपूर्ण निर्णयका लागि बोलाइएको यो बैठकलाई संवैधानिक तथा न्यायिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा, के भने बालेनलाई ?

काठमाडौं। वीर अस्पतालका निर्देशक डा. दिलीप शर्मा ले पदबाट राजीनामा दिएका छन्। अघिल्लो सरकारले गरेका नियुक्तिहरू खारेज गर्नेगरी वर्तमान सरकारले अध्यादेश ल्याएपछि उनले पद छाडेका हुन्।

डा. शर्माले हिजो नै स्वास्थ्य मन्त्रालयमा पुगेर राजीनामा बुझाएको जानकारी दिएका छन्। उनका अनुसार अन्य पदाधिकारीहरूले पनि पद छाडेकाले आफूले पनि राजीनामा दिएको हो।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लक्षित गर्दै उनले भने, ‘मेरो कार्यकाल पनि धेरै बाँकी थिएन, नयाँ सरकारलाई सहज होस् भनेर राजीनामा दिएँ।’

स्वास्थ्य सेवाअन्तर्गत दशौं तहका कर्मचारी रहेका शर्मा २०८१ फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए।

उनको राजीनामापछि वीर अस्पताल हाल पदाधिकारीविहीन भएको छ। अध्यादेश जारी भएसँगै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्षलगायतका पदाधिकारीहरू पनि पदमुक्त भएका थिए।

यस घटनाले देशको प्रमुख स्वास्थ्य संस्थाहरूको प्रशासनिक संरचना तत्कालका लागि अनिश्चित बनेको देखिएको छ।

देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन गरेन रेड नोटिस जारी ?

काठमाडौं। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवामाथि इन्टरपोलबाट रेड नोटिस जारी गर्ने प्रक्रिया अझै टुंगिन सकेको छैन। प्रक्रिया सुरु भएको करिब एक महिना बितिसक्दा पनि औपचारिक रेड नोटिस जारी नभएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका एक अधिकारीका अनुसार देउवा दम्पतीको रेड नोटिस हाल प्रक्रियामै रहेको छ र कुनै अन्तिम निर्णय भएको छैन। उनका अनुसार ‘रेड नोटिस जारी गर्ने विषय अझै विचाराधीन अवस्थामा छ।’

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा दुवैजनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। सोही आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएको थियो।

तर उनीहरू विदेशमा रहेको भनिएपछि नेपाल प्रहरीले इन्टरपोलको एनसीबी काठमाडौँमार्फत अन्तर्राष्ट्रिय अपराध संगठनलाई पत्राचार गरेको थियो। सोही क्रममा इन्टरपोलको केन्द्रीय कार्यालयले थप कागजात माग गरेको बताइएको छ।

देउवा दम्पती सिंगापुर हुँदै हङकङ पुगेको चर्चा भए पनि हाल उनीहरू कहाँ छन् भन्ने स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

यस प्रकरणले अन्तर्राष्ट्रिय स्तरमा कानुनी प्रक्रिया र राजनीतिक संवेदनशीलता दुवैलाई पुनः चर्चामा ल्याएको छ।

गगन,विश्व-पूर्णबहादुरबीच साढे १ घण्टा छलफल,के भयो कुरो ?

काठमाडौं। गगनकुमार थापाले नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन्। थापा उपसभापति विश्वप्रकाश शर्मासहित खड्काको गल्फुटारस्थित निवास पुगेका थिए।

सचिवालयका अनुसार बिहान भएको भेटवार्ता करिब ११ बजेबाट साढे १ घण्टासम्म चलेको थियो। भेटका क्रममा समसामयिक राजनीतिक अवस्था र पार्टीभित्रको रणनीतिक विषयमा छलफल भएको अनुमान गरिएको छ।

यद्यपि दुवै पक्षले औपचारिक विवरण सार्वजनिक गरेका छैनन्।

यसअघि मंगलबार बेलुकी तय गरिएको नेतात्रयबीचको भेट अन्तिम समयमा स्थगित भएको थियो। त्यसअघि बिहान थापाले वरिष्ठ नेता डा. शेखर कोइरालासँग पनि छुट्टै भेट गरेका थिए।

थापाले यसअघि पनि ६ वैशाखमा खड्कासँग भेट गरेका थिए। लगातार भइरहेका यी भेटघाटलाई नेपाली कांग्रेसभित्र आगामी राजनीतिक समीकरण र नेतृत्व व्यवस्थापनसँग जोडेर हेरिएको छ।

यद्यपि भेटको ठोस एजेन्डाबारे भने अहिलेसम्म औपचारिक रूपमा केही खुलाइएको छैन।

एमाले अध्यक्ष ओलीले गरे सुदूरपश्चिमका एमाले सांसदसँग छलफल (तस्वीरहरु)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरूसँग छलफल गरेका छन्। बुधबार ओलीको भक्तपुरस्थित निजी निवास गुन्डुमा उक्त छलफल भएको हो।

पार्टीभित्र सुदूरपश्चिम प्रदेशमा देखिएको पछिल्लो विवादका विषयमा केन्द्रित रहेर छलफल गरिएको स्रोतले जनाएको छ। विशेषगरी एमाले सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता राजेन्द्र सिंह रावलको कार्यशैलीलाई लिएर पार्टीभित्रै असन्तुष्टि र प्रश्नहरू उठ्दै आएको विषयमा पनि छलफल भएको बताइएको छ।

निकटस्थ स्रोतका अनुसार बैठकमा प्रदेश संगठनको आन्तरिक समन्वय, नेतृत्वको भूमिकासँगै आगामी राजनीतिक रणनीतिबारे पनि विचार विमर्श गरिएको थियो।

सुदूरपश्चिममा देखिएको विवादलाई समाधान गर्दै पार्टी एकता मजबुत बनाउने विषयमा नेताहरूबीच छलफल केन्द्रित रहेको जनाइएको छ।

‘१२ गाउँ २’ को छायांकन सुरू, को-को छन् कलाकार ?

काठमाडौं। सुपरहिट एक्सन फिल्म १२ गाउँ को सिक्वेल १२ गाउँ २ को छायांकन औपचारिक रूपमा सुरू गरिएको छ। निर्देशक विराज भट्टको निर्देशनमा बन्न लागेको फिल्मको बुधबार काठमाडौँमा शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो।

फिल्ममा निर्देशक भट्टसँगै समीर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारहरूको अभिनय रहनेछ।

निर्माण पक्षका अनुसार सुरुवातमा फिल्मको गीत खिचिनेछ। फिल्मको छायांकन काठमाडौँसँगै सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा गरिनेछ।

फिल्मलाई दसैंको फूलपातीको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको छ। प्राविधिक पक्षमा डीओपीको रूपमा महेश पौडेल रहनेछन् भने कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेका हुन्।

द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनले गर्नेछन्। ब्याकग्राउन्ड म्युजिक कालाचरण र गीता गुरप्पाले तयार पार्नेछन् भने संगीतमा युग भुसाल, देबेन्द्र बराल र डीपी खनाल रहनेछन्।

गीतमा सुगम पोखरेल, समीक्षा अधिकारी, प्रेरणा सिंह, किरण भुजेल र निशान भट्टराईको स्वर रहनेछ। निर्माण व्यवस्थापन भोला सुबेदी (आरजे प्रणव) र रमेश खड्काले सम्हाल्नेछन् भने नृत्य निर्देशन सियोन श्रेष्ठले गर्नेछन्।

फिल्मको वितरण उपत्यकामा काफिया फिल्म्स प्रालि र उपत्यका बाहिर कुबेर फिल्म्सले गर्नेछन्।

चुनावमा निष्पक्ष नभएको भन्दै राजीनामा नदिने ममताको घोषणा(भिडियो)

नयाँ दिल्ली। पश्चिम बंगाल विधानसभा चुनावमा दलको पराजय भए पनि मुख्यमन्त्री ममता बनर्जीले पदबाट राजीनामा नदिने घोषणा गरेकी छन्। तृणमूल कांग्रेस (टीएमसी) की अध्यक्ष बनर्जीले आफू पराजित नभएको दाबी गर्दै पद नछाड्ने बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

१५ वर्षदेखि सत्तामा रहेको टीएमसी यसपटक ठूलो धक्का खेप्दै ८० सिटमा सिमित भएको छ, जबकि भारतीय जनता पार्टी (भाजपा) ले २०७ सिट जितेर सरकार गठनको तयारी थालेको छ। ममता बनर्जी स्वयं पनि भवानीपुर क्षेत्रबाट पराजित भएकी छन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भाजपामाथि चुनावमा व्यापक बेइमानी गरेको आरोप लगाइन्। ‘हारको प्रमाण भए म राजीनामा दिन्थेँ, तर जबर्जस्ती स्वीकार्य हुँदैन,’ उनले भनिन्। साथै उनले निर्वाचन प्रक्रियामा भारतीय निर्वाचन आयोग नै मुख्य दोषी भएको दाबी गर्दै आयोगको भूमिकामाथि प्रश्न उठाइन्।

बनर्जीले अब पार्टीभित्र छलफल गरी आगामी रणनीति तय गरिने बताउँदै भाजपाको ‘अत्याचार’ विरुद्ध सडक संघर्षमा उत्रिने चेतावनी पनि दिइन्।

उता, भाजपाले भने ममताको अभिव्यक्तिलाई असंवैधानिक र हास्यास्पद ठहर गर्दै आलोचना गरेको छ। पार्टीका प्रवक्ता देबजीत सरकारका अनुसार संवैधानिक प्रक्रियालाई मान्ने कुनै पनि व्यक्तिले यस्ता दाबी गर्नै सक्दैनन्।

संविधान के भन्छ?

भारतीय संविधानको अनुच्छेद १६४ अनुसार मुख्यमन्त्री राज्यपालको इच्छासम्म पदमा रहन सक्छन्। तर यो ‘इच्छा’ राज्यसभामा बहुमत प्राप्त नेतामाथि आधारित हुने संवैधानिक प्रावधान हो। नयाँ बहुमत स्पष्ट भएपछि राज्यपाल त्यही आधारमा सरकार गठनका लागि आमन्त्रण गर्छन्।

यदि वर्तमान मुख्यमन्त्रीले राजीनामा नदिए पनि राज्यपालले मन्त्रिपरिषद् बर्खास्त गर्ने अधिकार राख्छन्। यस अर्थमा, बहुमत गुमाएपछि पदमा निरन्तर बसिरहन व्यावहारिक रूपमा सम्भव हुँदैन।

त्यस्तै, अनुच्छेद १७२ अनुसार राज्य विधानसभा पाँच वर्ष मात्र रहने व्यवस्था छ। नयाँ निर्वाचनपछि पुरानो सरकारको कार्यकाल स्वतः समाप्त हुन्छ।

संवैधानिक विज्ञहरूका अनुसार मुख्यमन्त्रीको पद बहुमतको समर्थनमा आधारित भएकाले चुनावपछि बहुमत गुमेमा पदमा टिकिरहन कानुनी आधार रहँदैन। उनीहरूको भनाइमा, ममताको राजीनामा नदिनेको निर्णय कानुनीभन्दा बढी राजनीतिक विषय हो।

हेटौंडामा ३०० भन्दा बढी प्रजातिका चरा (तस्वीरहरू)

हेटौंडा। मानिसहरू प्रायः चराहरू अवलोकन गर्न जंगल वा संरक्षित क्षेत्रमै जानुपर्ने सोच राख्छन्, तर हेटौंडा उपमहानगरपालिकाभित्रै ३०० भन्दा बढी प्रजातिका चराहरू भेटिएको तथ्यले यो धारणा बदलिदिएको छ।

उपमहानगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार हेटौंडा अब सम्भावित ‘अर्बन बर्डिङ’ गन्तव्यका रूपमा विकास हुन सक्ने बलियो आधार देखिएको छ।

भित्री मधेसमा अवस्थित हेटौंडाको भौगोलिक संरचना विविध छ। यहाँ सालका घना जंगल, डाँडाकाँडा, तराईका समथर भूभाग, खोलानाला, सिमसार र खेतीयोग्य जमिन एकै ठाउँमा पाइन्छन्। यही कारणले पहाडी र तराई दुवै क्षेत्रका चराहरू यहाँ सहजै देखिने गरेका छन्।

विशेषगरी जाडो याममा यहाँ चराहरूको चहलपहल उल्लेखनीय रूपमा बढ्ने गर्छ। खोलानाला र सिमसार क्षेत्रमा पानीसँग सम्बन्धित चराहरूको उपस्थिति बढी देखिन्छ भने खेतीयोग्य जमिनमा पनि विभिन्न प्रजातिका चराहरू नियमित रूपमा देखिन्छन्।

हेटौंडाको अर्को महत्वपूर्ण विशेषता भनेको चरा अवलोकनका लागि टाढा जानु नपर्नु हो। मुख्य बजार क्षेत्रबाट करिब २०० देखि ३०० मिटर दूरीमा रहेको फरेस्ट क्याम्पस क्षेत्रको जंगलमै करिब १५० भन्दा बढी प्रजातिका चराहरू अभिलेख गरिएको छ।

यहाँ गरुड, बाज प्रजाति लगायत शिकारी चराहरू पनि देखिन्छन्। त्यस्तै ठेउवा, सुइरोठुँडे र खोया हाँस जस्ता पानी तथा जमिन दुवै क्षेत्रमा बस्ने चराहरू पनि नियमित रूपमा पाइन्छन्।

हेटौंडा केवल स्थायी चराहरूको बासस्थान मात्र होइन, यो महत्वपूर्ण प्रवासी चराहरूको विश्रामस्थल पनि हो। माइग्रेसनका क्रममा विभिन्न प्रजातिका चराहरू यहाँ छोटो समयका लागि बस्ने र पुनः आफ्नो यात्रामा अघि बढ्ने गर्छन्, जसले यस क्षेत्रलाई जैविक रूपमा अझ महत्वपूर्ण बनाएको छ।

विशेषज्ञहरूका अनुसार यो क्षेत्र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमै एउटा महत्वपूर्ण पारिस्थितिकीय मार्गका रूपमा विकसित हुँदै गएको छ।

यसरी सहरी क्षेत्रमै यति समृद्ध चरा विविधता हुनु हेटौंडाको ठूलो सम्भावना हो। उचित संरक्षण, हरियाली व्यवस्थापन र जनचेतना विस्तारमार्फत यसलाई बर्डवाचिङ र प्रकृति पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ।

समग्रमा, हेटौंडा केवल सहरी विकासको केन्द्र मात्र नभई चराहरूको जीवन्त र विविध संसार पनि हो भन्ने पुष्टि हुँदै गएको छ।

कार्की र यादव पक्राउ

काठमाडौं। विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँका ४३ वर्षीय निरबहादुर कार्की र सर्लाहीका ३९ वर्षीय विजयकुमार यादव रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार निरबहादुर कार्कीले क्रोएसिया पठाइदिन्छु भन्दै ८ जनाबाट रकम ठगी गरेको आरोप छ। त्यस्तै विजयकुमार यादवले कतार पठाइदिन्छु भन्दै २ लाख २० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

कांग्रेस भ्रातृसंस्थामा मनोनयनको तयारी : महिलामा मिना, तरुणमा मनिष, नेविसंघमा आदित्यको चर्चा

काठमाडौँ ।  नेपाली कांग्रेसका विभिन्न भ्रातृ संगठनका पदाधिकारी पदमुक्त भएपछि अहिले ती संगठनहरूमा नयाँ नेतृत्वका लागि चहल पहल तीव्र बनेको छ। रिक्त पदहरू परिपुर्तीको लागि पार्टीभित्र मनोनयनको तयारी सुरु भएको छ भने सम्भावित नामहरूबारे व्यापक चर्चा सुरु भएको हो।

नेपाल महिला संघमा नयाँ नेतृत्वका लागि मिना खरेलको नाम सबभन्दा अगाडि रहेको चर्चा छ। संगठनमा उनी प्रभावशाली नेतृका रूपमा स्थापित भएकाले उनको मनोनयनलाई बढी सम्भावना भएको कांग्रेस निकट स्रोतले बताउछ । 

२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा खरेल चितवन क्षेत्र नम्बर-२ बाट उम्मेदवार समेत थिइन्। तर त्यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भए। खरेलको चितवन लगायत देशैभरका कांग्रेसका युवा तथा महिलामाझ राम्रो छवि रहेको बताइन्छ।

त्यस्तै, नेपाल विद्यार्थी संघ (नेविसंघ)मा नयाँ अनुहारको रूपमा आदित्य दास चर्चामा छन्। विद्यार्थी राजनीतिमा सक्रिय दासलाई नेविसंघको केन्द्रीय नेतृत्वमा ल्याउनेबारे आन्तरिकरूपमा छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ।

नेविसंघका निवर्तमान सभापति दुजाङ शेर्पाले पद छाडेको घोषणा गरेसँगै दास नयाँ नेतृत्वको रुपमा चर्चामा आएका हुन्। उनी त्रिभुवन विश्वविधालय अन्तर्गत चाबेल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसबाट विगत लामो समयदेखि विधार्थी राजनीतिमा सक्रीय छन्। 

नेपाल तरुण दलमा मनिष कोईरालाको नाम प्रबल रूपमा अघि सारिएको चर्चा छ । संगठन विस्तार, युवा परिचालन र आन्तरिक व्यवस्थापनमा सक्रिय कोईरालालाई नयाँ नेतृत्वका लागि उपयुक्त मानिँदैछ। यसअघि तरुण दलको अध्यक्ष विद्वान गुरुङ थिए। उनले पनि केही दिनअघि मात्रै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। 

कांग्रेसभित्र रिक्त भएका भ्रातृसंस्थाहरूमा मनोनयन प्रक्रिया छिट्टै अघि बढाइने जनाइएको छ। पार्टी स्रोतका अनुसार नयाँ नेतृत्व घोषणासँगै यी संगठनहरूको गतिविधि फेरि सक्रिय हुने अपेक्षा गरिएको छ।

आर्सनल दुई दशकपछि च्याम्पियन्स लिग फाइनलमा, साका बने नायक

लन्डन । आर्सनल दुई दशक लामो प्रतीक्षा तोड्दै युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै आर्सनलले ऐतिहासिक उपलब्धि हात पारेको हो।

एमिरेट्स स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा बुकायो साका नायक बने। पहिलो हाफको अन्त्यतिर लियान्द्रो ट्रोसार्डको प्रहार गोलकिपर जान ओब्लाकले रोके पनि रिबाउन्डमा आएको बललाई साकाले पोस्टको दिशा दिएका थिए। यही गोलले आर्सनललाई समग्रमा २–१ को जित दिलायो।

आर्सनलको जितमा उसको बलियो रक्षापंक्तिले पनि महत्वपूर्ण भूमिका खेलेको छ। यस सिजन नकआउट चरणमा घरेलु मैदानमा उसले कुनै गोल नखाएको तथ्य उल्लेखनीय छ। खेलको ५१औँ मिनेटमा एथ्लेटिकोका जुलियानो सिमओनीले गोल गर्ने अवसर पाए पनि डिफेन्डर ग्याब्रियलको उत्कृष्ट हस्तक्षेपले रोकिएको थियो।

सन् २००६ पछि पहिलो पटक फाइनल पुगेको आर्सनलका लागि यो सिजन ऐतिहासिक बन्ने सम्भावना देखिएको छ। क्लब च्याम्पियन्स लिग उपाधिबाट एक जित टाढा मात्र छ भने प्रिमियर लिगमा पनि उपाधि दौडमा बलियो अवस्थामा रहेको छ।

आर्सनलले अब मे ३० मा बुडापेस्टमा हुने फाइनलमा पेरिस सेन्ट जर्मेन वा बायर्न म्युनिख मध्ये एकको सामना गर्नेछ। यी दुईबीचको सेमिफाइनलमा पहिलो लेगमा पीएसजी ५–४ ले अगाडि छ।

ट्रम्प गर्जिए – ‘बाँचुञ्जेल राष्ट्रपति पदमै बस्छु’

एजेन्सी। डोनाल्ड ट्रम्पले आफू अझै ८ देखि ९ वर्षसम्म पदमा रहन चाहेको बताएका छन्। ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो कुरा मजाक नभई गम्भीर अभिव्यक्ति भएको भन्दै अझ धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे।

तर अमेरिकाको संविधानअनुसार कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति बन्न पाउने व्यवस्था छैन। यही कारण ट्रम्पको तेस्रो कार्यकालको सम्भावनालाई लिएर पुनः राजनीतिक बहस सुरु भएको छ।

संविधान संशोधन गरेर तेस्रो कार्यकाल सम्भव बनाउन कांग्रेसमा दुईतिहाइ बहुमत आवश्यक पर्छ र ५० मध्ये कम्तीमा ३८ राज्यको समर्थन चाहिन्छ। वर्तमान राजनीतिक संरचनामा यस्तो सहमति जुट्नु अत्यन्त कठिन मानिन्छ।

ट्रम्पले यसअघि पनि तेस्रो कार्यकालबारे संकेत गर्दै आएका थिए। यद्यपि कानुनी र संवैधानिक सीमाका कारण यस्तो सम्भावना व्यवहारिक रूपमा कमजोर रहेको विश्लेषकहरूको धारणा छ।

अमेरिकामा राष्ट्रपति कार्यकाल सीमित गर्ने व्यवस्था शक्ति सन्तुलन र लोकतान्त्रिक निरन्तरताका लागि महत्वपूर्ण मानिन्छ। त्यसैले ट्रम्पको पछिल्लो अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा बढाए पनि यसको कार्यान्वयन सम्भावना भने न्यून देखिन्छ।

युक्रेनमा रुसको आक्रमण : २६ जनाको मृत्यु, ८० बढी घाइते

काठमाडौं। रूसले युक्रेनका विभिन्न सहरमा गरेको ड्रोन र मिसाइल आक्रमणमा २६ जनाको मृत्यु भएको छ। किएभमा युद्धविराम लागू हुनुअघि र मस्कोले घोषणा गरेको लडाइँ रोक्ने योजनाभन्दा तीन दिनअघि भएको यस भीषण आक्रमणमा ८० भन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

मंगलबार दिउँसो, रूसी ग्लाइड बमहरूले पूर्वी सहर क्रामातोर्स्क, दक्षिणपूर्वी जापोरिज्झिया र उत्तरी चेर्निहिभलाई निशाना बनाएको बताइएको छ। जापोरिज्झियामा मात्र कम्तीमा १२ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएको प्रान्तीय गभर्नर इभान फेदोरोभले जानकारी दिएका छन्।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमण प्रभावित स्थानहरूमा उद्धार कार्य जारी रहेको बताए। उनले रूसी हवाई बमहरूले सहरको केन्द्रमै प्रहार गर्दै सर्वसाधारणलाई लक्षित गरेको स्पष्ट पार्दै यो ‘अत्यन्त निन्दनीय आतंकी आक्रमण’ भएको टिप्पणी गरे। जेलेन्स्कीका अनुसार, यस्तो हिंसा अन्त्य गर्न रूसलाई युद्ध रोक्न बाध्य पारिनु आवश्यक छ।

युक्रेनको राज्य ऊर्जा कम्पनी नाफ्टोगाजका प्रमुख सेरही कोरेत्स्कीले पनि ठूला क्षति पुगेको उल्लेख गर्दै भने, ‘हामीले ठूलो भौतिक क्षति र उत्पादन हानी बेहोरेका छौँ। यो संयुक्त आक्रमण थियो, जसमा अनम्यान्ड एरियल भेहिकल (ड्रोन) र ब्यालिस्टिक मिसाइल दुवै प्रयोग गरिएको थियो।’

२० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले निरन्तर रुपमा नगद तान्ने प्रक्रिया जारी राखेको छ। निक्षेप संकलन उपकरणको प्रयोगमार्फत केन्द्रीय बैंकले बजारबाट पैसा सोस्ने कार्य तीव्र बनाएको हो। यही क्रममा आज वैशाख २३ गते पनि राष्ट्र बैंकले निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्ने घोषणा गरेको छ।

निरन्तर बढ्दो निक्षेपका कारण राष्ट्र बैंकले नियमित रूपमा नगद प्रशोचन गरिरहेको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि सुरु गरी अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमभित्र बोलकबोल गर्न पाउनेछन्। बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदर प्रणालीमा पनि बहुबोलकबोल गर्न सकिने राहतो व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र निक्षेप संकलनको बोलकबोल प्रक्रियामा सहभागी हुन योग्य छन्। ४४ दिनका लागि जारी गरिएको यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी असार ५ गते हुने राष्ट्र बैंकले जानकारी दिएको छ।

भीपीएन : साइबर प्रोटेक्टर या जासूस ?

काठमाडौं । इन्टरनेट आजको जीवनशैलीको मेरुदण्डजस्तै बनेको छ। व्यक्तिगत संवाददेखि बैंकिङ, व्यापार, शिक्षा र मनोरञ्जनसम्मका लगभग सबै गतिविधि अहिले अनलाइनमा आधारित छन्। तर जति सुविधा बढेको छ। त्यति नै जोखिम पनि तीव्र रूपमा बढिरहेको छ।

डाटा चोरी, साइबर आक्रमण, ट्र्याकिङ्‌ र अनधिकृत निगरानीजस्ता समस्याले प्रयोगकर्ताको गोपनीयता र सुरक्षामाथि गम्भीर चुनौती खडा गरिरहेका छन्। यही सन्दर्भमा भर्चुअल प्राइभेट नेटवर्क, अर्थात् भीपीएन, डिजिटल सुरक्षाको एक प्रभावकारी उपायका रूपमा चर्चामा आएको छ।

भीपीएन मूलतः यस्तो प्रविधि हो। जसले प्रयोगकर्ताको डिभाइस र इन्टरनेटबीच एक सुरक्षित ‘सुरुङ’ निर्माण गर्छ। सामान्य अवस्थामा प्रयोगकर्ताको इन्टरनेट गतिविधि इन्टरनेट सेवा प्रदायक, वेबसाइट र विभिन्न ट्र्याकिङ्‌ प्रणालीहरूले सजिलै निगरानी गर्न सक्छन्। तर भीपीएन प्रयोग गर्दा प्रयोगकर्ताको सम्पूर्ण इन्टरनेट ट्राफिक पहिले भीपीएन सर्भरमा पुग्छ र त्यहाँबाट मात्र गन्तव्यमा प्रवेश गर्छ।

यस प्रक्रियामा प्रयोगकर्ताको वास्तविक आइपी एड्रेस लुक्छ र नयाँ भर्चुअल आइपी देखिन्छ। साथै, सम्पूर्ण डाटा इन्क्रिप्ट भएर पठाइने भएकाले बाह्य पक्षहरूले त्यसलाई बुझ्न वा ट्र्याक गर्न निकै कठिन हुन्छ।

विशेषगरी सार्वजनिक वाइफाइ प्रयोग गर्दा भीपीएनको आवश्यकता अझ बढी महसुस हुन्छ। क्याफे, होटल वा एयरपोर्टजस्ता स्थानका वाइफाइ नेटवर्कहरू प्रायः असुरक्षित हुन्छन्। जसले गर्दा त्यहाँ प्रयोगकर्ताको डाटा सजिलै चोरी हुन सक्छ। यस्तो अवस्थामा भीपीएनले डाटा इन्क्रिप्ट गरेर ह्याकरहरूबाट जोगाउने अतिरिक्त सुरक्षा तह प्रदान गर्छ।

त्यस्तै, अनलाइन विज्ञापन कम्पनीहरूले प्रयोगकर्ताको सर्च हिस्ट्री र व्यवहार ट्र्याक गर्ने प्रवृत्ति बढ्दो छ। जसलाई भीपीएनले केही हदसम्म कम गर्न सक्छ। यसबाहेक, भौगोलिक रूपमा प्रतिबन्धित सामग्री हेर्नका लागि पनि भीपीएन उपयोगी मानिन्छ। किनकि यसले प्रयोगकर्तालाई आफ्नो भर्चुअल लोकेशन परिवर्तन गर्ने सुविधा दिन्छ।

यद्यपि, भीपीएनलाई पूर्ण सुरक्षा दिने माध्यमका रूपमा बुझ्नु उचित होइन। भीपीएन प्रयोग गर्दा पनि प्रयोगकर्ता पूर्ण रूपमा अदृश्य हुँदैनन्। जिमेल वा फेसबुकजस्ता प्लेटफर्ममा लगइन गरेपछि ती सेवाहरूले प्रयोगकर्ताको गतिविधि ट्र्याक गर्न सक्छन्। साथै, सबै भीपीएन सेवा विश्वसनीय हुँदैनन्।

केही निःशुल्क वा कमजोर भीपीएन सेवाहरूले प्रयोगकर्ताको डाटा संकलन गरेर तेस्रो पक्षसँग साझेदारी गर्न सक्छन्। जसले उल्टै जोखिम बढाउन सक्छ। त्यस्तै, भीपीएन प्रयोग गर्दा इन्टरनेटको गति केही घट्ने सम्भावना पनि रहन्छ।

पछिल्ला वर्षहरूमा डाटा गोपनीयताप्रति विश्वव्यापी सचेतना बढ्दै जाँदा भीपीएनको प्रयोग पनि तीव्र रूपमा विस्तार भइरहेको छ। डिजिटल विज्ञापनको बढ्दो प्रभाव, साइबर अपराधको वृद्धि, सरकारी निगरानीप्रतिको चिन्ता र स्ट्रिमिङ सेवाहरूमा क्षेत्रीय प्रतिबन्धजस्ता कारणहरूले प्रयोगकर्ताहरूलाई भीपीएन प्रयोगतर्फ आकर्षित गरिरहेका छन्।

तर सुरक्षित इन्टरनेट प्रयोगका लागि भीपीएन मात्र पर्याप्त हुँदैन। बलियो पासवर्ड प्रयोग गर्नु, दुई तह प्रमाणीकरण अपनाउनु र शंकास्पद गतिविधिबाट टाढा रहनुजस्ता सावधानीहरू पनि उत्तिकै आवश्यक हुन्छन्।

अन्ततः, भीपीएन डिजिटल युगको एक महत्वपूर्ण सुरक्षा उपकरण हो। जसले प्रयोगकर्तालाई प्राइभेसी र सुरक्षामा थप सहयोग पुर्‍याउँछ। तर यसलाई सम्पूर्ण समाधानका रूपमा लिनु यथार्थपरक हुँदैन।

सही रूपमा र सचेत प्रयोग गरेमा भीपीएन प्रभावकारी ढाल बन्न सक्छ। तर अन्य सुरक्षा उपायबिना यो अधुरो सुरक्षा मात्र रहन्छ।

रविलाई नख्खु कारागारबाट गाडीमा निकालेको भन्दै विवादमा गायक रामकृष्ण

काठमाडौँ । गायक रामकृष्ण ढकाल एक अभिव्यक्तिले सामाजिक विवादमा तानिएका छन्। एक अन्तर्वार्तामा उनले जेनजी आन्दोलनको क्रममा सहकारी ठगी आरोपमा नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आफ्नै गाडीमा चढाएर अस्पतालतर्फ लगेको थिए भन्ने खुलासा गरेपछि विवाद चुलिएको हो।

‘मालती मङ्गले’ फिल्म आगामी २५ गतेबाट प्रदर्शनमा आउँदैछ, र यही प्रमोसनका क्रममा ढकालले उक्त घटनाबारे खुलेर बताएका हुन्। कार्यक्रम प्रस्तोताले नख्खु कारागार तोडफोडको दिन, भदौ २४ गतेको भिडियो देखाएपछि ढकालले त्यही निलो गाडी आफैले चलाइरहेको बताएका थिए।

ढकालका अनुसार उनी भैंसीपाटीमा बस्ने भएकाले त्यस दिन जेनजी आन्दोलनतर्फ जाँदै गर्दा नख्खु जेल नजिक पुगेका थिए। त्यहाँ बाहिरको रेस्टुरेन्ट नजिक रवि लामिछाने हात हल्लाउँदै देखिएको, र “पुर्‍याइदिन्छु” भन्ने भावना राखेर उनले आफूले नै गाडी चलाएर साथ दिएको बताए।

त्यही बेला ढकालको गाडीले रविलाई लगेको हल्ला त चलेको थियो, तर ड्राइभर को थे भन्ने खुलासा कहिल्यै भएको थिएन। भिडियोमा अनुहार नदेखिएकाले त्यो रहस्यकै रूपमा थियो। अहिले भने ढकालले स्वयं आफू गाडी चलाएको स्वीकारेपछि विषय फेरि चर्चामा आएको छ।

यो खुलासा बाहिरिएपछि सामाजिक सञ्जालमा ढकालविरुद्ध तीव्र प्रतिक्रिया देखिएको छ। केही प्रयोगकर्ताले २५ गते प्रदर्शनमा आउने ‘मालती मङ्गले’ फिल्म बहिस्कार गर्ने चेतावनी समेत दिएका छन्।

वीरगञ्जमा निःशुल्क जलन शिविर : १५० जना लाभान्वित, ४६ जनाको शल्यक्रिया

वीरगञ्ज । पर्साको नारायणी अस्पतालमा सञ्चालन गरिएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’बाट १५० जनाले परामर्श तथा उपचार सेवा प्राप्त गरेका छन्।

नबिल बैंक र नारायणी अस्पतालको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा वैशाख १७ देखि २० गतेसम्म शिविर सञ्चालन गरिएको थियो।

शिविरका क्रममा ४६ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ। जटिल अवस्थाका ६ जना बिरामीलाई थप उपचारका लागि कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ।

शिविरअघि मधेश प्रदेशका ६ जिल्लाका २७ पालिकामा स्क्रिनिङ क्याम्प सञ्चालन गरी बिरामीहरूको प्रारम्भिक पहिचान गरिएको थियो। फेक्ट नेपालका स्वास्थ्यकर्मीहरूले स्थानीय तहमै पुगेर विवरण संकलन गरेका थिए।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नेपालमा जलन पीडितले अझै पनि पर्याप्त उपचार नपाउने अवस्था रहेको उल्लेख गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताए।

त्यसैगरी, वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईसहितको टोलीले शल्यक्रिया गरेको थियो। उनले चार दिने शिविर अपेक्षाभन्दा प्रभावकारी भएको र भविष्यमा यस्ता सेवा स्थानीय अस्पतालमै विस्तार गर्ने लक्ष्य रहेको बताए।

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन शाहले लामो समयदेखि जलनका कारण पीडित बिरामीलाई राहत पुगेको र उनीहरूको जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे।

बैंकका अनुसार वैशाख २५ देखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा पनि यस्तै शिविर सञ्चालन गरिनेछ।

यसअघि नबिल बैंकले सुदूरपश्चिम र कर्णाली प्रदेशमा समेत यस्ता निःशुल्क शिविर सञ्चालन गरिसकेको छ। फागुनमा धनगढीमा ६५ जना र चैतमा कर्णालीमा १९४ जनाले सेवा लिएका थिए।

नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा र उद्यमशीलता क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तीन जना पक्राउ

काठमाडौं । राजधानीको इन्द्रचोक क्षेत्रमा पेस्तोल देखाएर ज्वेलर्स पसलमा लुटपाटको प्रयास गर्ने घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

वैशाख १७ गते इन्द्रचोकस्थित ‘नैना एन्ड इसन ज्वेलर्स’मा दुई जनाले लुटपाट प्रयास गरेको आरोपमा प्रहरीले विकेश राजवाहक र अरूण भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनीहरूबाट एउटा पेस्तोल समेत बरामद गरिएको छ।

यसैबीच, घटनासँग सम्बन्धित अर्को अभियुक्तका रूपमा ललितपुरका हरिकृष्ण महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो। भिडियोमा हेलमेट, नकाब र कालो कपडा लगाएका दुई जना व्यक्तिहरू पसलभित्र प्रवेश गरी एक महिला कर्मचारीलाई पेस्तोल देखाएर लुटपाटको प्रयास गरेको देखिन्छ।

तर ती महिला कर्मचारीले साहसपूर्वक प्रतिरोध गरेपछि उनीहरू लुटपाट गर्न नसकी भागेका थिए।

प्रहरीका अनुसार उक्त दिन लुटपाट सफल हुन सकेको थिएन। साथै, नजिकैको अर्को पसलमा भएको चोरी घटनासँग पनि उनीहरूको संलग्नता हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको छ।

५ हजार ८ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ८ सय रुपैयाँमा पुगेको छ। 

अघिल्लो दिन यसैको कारोबार मूल्य २ लाख ९१ हजार रुपैयाँ रहेको थियो। गत बुधबार भने सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँमा पुगेको छ। गत बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९१५ रुपैयाँ थियो।

‘मन्डेला इफेक्ट’ : सत्य,भ्रम या प्याररल वर्ल्ड ?

मानव जीवन अनुभव, स्मृति र चेतनाको आधारमा अघि बढ्छ। हामीले देख्ने, सुन्ने र भोग्ने घटनाहरू हाम्रो स्मृतिमा संग्रहित हुन्छन्, र त्यही स्मृतिले हाम्रो बुझाइ, निर्णय र विश्वास निर्माण गर्छ। तर स्मृति सधैं पूर्ण रूपमा सही, स्थिर र अपरिवर्तनीय हुँदैन। कहिलेकाहीँ मानिसहरूले एउटै घटनालाई फरक-फरक तरिकाले सम्झन्छन्, वा कहिल्यै नभएको कुरा पनि ‘सत्य’ जस्तै विश्वास गर्न थाल्छन्। यसले मानव चेतनाको सीमितता र स्मृतिको जटिल प्रकृतिलाई स्पष्ट रूपमा झल्काउँछ।

समाजमा सूचना, अनुभव र साझा कथनहरू निरन्तर आदान-प्रदान भइरहँदा मानिसहरूको व्यक्तिगत स्मृति पनि त्यसबाट प्रभावित हुन्छ। कुनै घटना बारम्बार सुन्दा वा पढ्दा, त्यो स्मृति अझ मजबुत हुँदै जान्छ। चाहे त्यो वास्तविकतासँग पूर्ण रूपमा मेल नखाओस्। यसरी सामूहिक स्मृतिको निर्माण हुन्छ। जसले कहिलेकाहीँ सत्य र भ्रमबीचको सीमालाई नामेट गरिदिन्छ।

यही पृष्ठभूमिबाट माथि आएपछि मानव स्मृति र सामूहिक विश्वासबीच देखिने यस्ता अनौठा र रहस्यमय अनुभवहरु पर्दा अघि आउँछ।  चाहे त्यसलाई देजाबू को दिऊ। चाहे त्यस्लाई ‘मन्डेला इफेक्ट’ भनौं। हाम्रा स्मृति,अनुभव र चेतना सँग जोडिएर कहिलेकाहीँ यस्ता घटना घट्छन जसले हाम्रो बुझाइमाथि नै प्रश्न उठाउँछन्। जसलाई बुझ्ने प्रयास विभिन्न दृष्टिकोणबाट आज पनि जारी छ। 

यस्तै भ्रम र सत्यको मनोवैज्ञानिक,दार्शनिक र वैज्ञानिक पृष्ठभूमिबाट ‘मन्डेला इफेक्ट’ भन्ने अवधारणाको चर्चा सुरु हुन्छ। मन्डेला इफेक्ट त्यस्तो अवस्था हो। जहाँ ठूलो संख्यामा मानिसहरूले कुनै व्यक्ति,घटना,नाम,शब्द वा दृश्यबारे एउटै गलत सम्झना,धारणा र अनुभव साझा गर्छन्। जसले सत्य र भ्रमबीचभिन्नता छुट्याउन अफ्टेरो बनाउँछ।  

पृष्ठभूमी

नेल्सन मन्डेला दक्षिण अफ्रिकाका एक प्रमुख आन्दोलनकारी एक्टिभिस्ट र राजनीतिज्ञ थिए। जसले अफ्रिकन नेशनल कांग्रेसमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनी दक्षिण अफ्रिकामा लामो समयसम्म लागू रहेको जातीय विभेदको नीति अपार्थाइड अपार्थाइड का कडा विरोधी थिए। जहाँ बहुसंख्यक कालो जनसंख्या अल्पसंख्यक गोरा शासकद्वारा शासित थियो। 

सन् १९५० र १९६० को दशकमा उनका राजनीतिक गतिविधिका कारण उनी बारम्बार कानुनी समस्यामा परे।र १९६३ मा उनलाई तोडफोड स्याबोटाज सम्बन्धी आरोपमा मुद्दा चलाइयो। उनी दोषी ठहर भए। तर मृत्युदण्डबाट बच्दै आजीवन कारावासको सजाय सुनाइयो।

१९८० को दशकमा दक्षिण अफ्रिका अपार्थाइड अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायको कडा दबाबमा आयो। १९९० मा राष्ट्रपति एफ. डब्ल्यु. डी क्लार्कको नेतृत्वमा राजनीतिक सुधारहरू सुरु गरिए। जसले अन्त्यतर्फ शान्तिपूर्ण संक्रमणको बाटो खोल्यो। डी क्लार्कले मन्डेलाको रिहाइको घोषणा गरे। अफ्रिकन नेशनल कांग्रेसको कानुनी मान्यता पुनःस्थापित गरे।

मन्डेला र डी क्लार्कले आफ्नो प्रयासका लागि १९९३ मा नोबेल शान्ति पुरस्कार नोबेल पिस प्राइज पाए। र मन्डेला १९९४ मा दक्षिण अफ्रिकाका राष्ट्रपति निर्वाचित भए। उनले १९९९ सम्म पद सम्हाले र २०१३ मा निधन नहुन्जेल शान्ति र जातीय समानताका प्रिय प्रतीकका रूपमा रहिरहे।

तर २००० को दशकमा इन्टरनेट प्रयोगकर्ताहरूको ठूलो समूहले अनलाइन आफ्ना अनुभवहरू साझा गर्न थाले।  जसमा उनीहरूले मन्डेला १९८० को दशकमै जेलमा मृत्यु भएको स्पष्ट रूपमा सम्झेको बताएका थिए। ती विवरणहरू अनुसार, उनको मृत्यु अन्तर्राष्ट्रिय टेलिभिजन समाचारमा प्रसारण गरिएको थियो। र उनको भव्य अन्त्येष्टि गरिएको थियो। जहाँ उनकी श्रीमतीले भावनात्मक श्रद्धाञ्जली दिएकी थिइन्। एक परामनोवैज्ञानिक प्यारानर्मल रिसर्चर र ब्लगर, जसले पहिलोपटक यस्तो गलत सम्झनाबारे लेखेकी थिइन्। उनले सन् २०१० मा यस अनौठो घटनालाई वर्णन गर्न ‘मन्डेला इफेक्ट’ भन्ने शब्द प्रयोग गरिन्। त्यसपछि विभिन्न वेबसाइट र अनलाइन समुदायहरूमा यस्ता धेरै उदाहरणहरू साझा हुन थाले। जसले लाखौँ दर्शकको ध्यान ताने। र हजारौँ मानिसलाई आफ्ना अनुभवहरू बाँड्न प्रेरित गर्‍यो। 

समयसँगै यस्ता धेरै उदाहरणहरू देखिन थाले। जसमा चलचित्रका संवाद, ब्रान्डका लोगो, ऐतिहासिक घटनाहरू वा सामान्य तथ्यहरूलाई मानिसहरूले गलत तरिकाले सम्झिरहेका थिए। यसले ‘मन्डेला इफेक्ट’ भन्ने शब्दलाई लोकप्रिय बनायो। र मन्डेला इफेक्ट साझा अनुभव मात्र नभएर अध्ययनको विषय नै बन्यो।

जस्तै,अमिताभ बच्चनको सुपरहिट फिल्म ‘शहंशाह’ को ‘रिश्ते में तो हम तुम्हारे बाप लगते हैं, नाम है शहंशाह…’ यो संवाद सुन्नुभएको होला। तर प्रायः कुराकानीमा हामी यसलाई प्रयोग पनि गर्छौँ, तर फिल्ममा यस्तो कुनै संवाद नै छैन। वास्तवमा फिल्मको सही संवाद यस्तो छ ‘रिश्ते में तो हम तुम्हारे बाप होते हैं…’ यस्तो छ।  यस प्रकारको घटना ‘मन्डेला इफेक्ट’ को एक उदाहरण हो। 

यस्ता कैयन उदाहरणहरु छन्। जस्तै पिकाचूको पुच्छर…धेरैजसो मानिसहरूको सम्झनामा पिकाचूको पुच्छर पहेंलो र कालो रंगको हुन्छ, तर यो पनि एक भ्रम मात्र हो। वास्तवमा पिकाचूको पुच्छर पूर्ण रूपमा पहेंलो मात्र हुन्छ। यदि तपाईंले गुगलमा खोज्नुभयो भने तपाईंलाई पिकाचूको पुच्छर केवल पहेंलो नै देखिन्छ। 

यसै प्रकार भारतमा धेरैजसो मानिसहरूले केरलाको अंग्रेजी हिज्जे Ker(e)la लेख्ने गर्छन्।जबकि सही हिज्जे Ker(a)la हो।

जस्तै, KitKat मा कुनै हाइफन हुँदैन। यो KitKat हुन्छ, Kit-Kat होइन। त्यस्तै ९० को दशकको प्रसिद्ध कार्टुन Looney Tunes हो, Looney Toons होइन। 

अर्को अत्यन्त लोकप्रिय उदाहरण बालबालिकाको किताब बेरेन्स्टेन बियर हो। ठूलो संख्यामा मानिसहरूले यसलाई Berenstein Bears (ईन उच्चारणसहित) भनेर सम्झन्छन्, तर वास्तविक नाम Berenstain Bears हो।

डिज्नीको चलचित्र स्नो ह्वाइट मा पनि यो इफेक्ट देखिन्छ। धेरैले सम्झन्छन् कि जादू गर्ने ऐनाले ‘Mirror, Mirror on the wall, who’s the fairest of them all?’ भनेको थियो, तर वास्तविक संवाद ‘Magic Mirror on the wall…’ हो।

स्टार वार्स फिल्ममा पनि फरक सम्झना छ। धेरैलाई लाग्छ डार्थ भेडरले ‘Luke, I am your father’ भनेका थिए, तर वास्तविक डाइलग ‘No, I am your father’ हो।

अन्य उल्लेखनीय उदाहरणहरूमा फ्रुट अफ द लुम लोगोमा कहिल्यै cornucopia (फलको भाँडो) नभएको, मोनोपोली खेलको म्यानले कहिल्यै एक आँखाको चश्मा नलगाएको, क्युरीयस जर्ज बाँदरको पुच्छर नभएको जस्ता कुराहरू छन्।

त्यस्तै,धेरै मानिसहरूले ९० को दशकमा Shazaam नामको सिन्बाद अभिनीत जादूगरको चलचित्र आएको सम्झन्छन्, तर यस्तो कुनै फिल्म बनेकै छैन। यसबाहेक किटक्याट (KitKat बिना हाइफन), जिफ पीनट बटर र हन्ना बार्बेरा जस्ता ब्रान्ड नामहरूमा पनि धेरै मानिसहरूको सम्झना वास्तविकतासँग मेल खाँदैन। तर यी सबै उदाहरणहरूले मन्डेला इफेक्टलाई अझ रोचक र रहस्यमय बनाएका छन्।   

मन्डेला इफेक्ट र समानान्तर ब्रम्हाण्ड 

वैज्ञानिक र मनोवैज्ञानिक दृष्टिले हेर्दा मन्डेला इफेक्टलाई समानान्तर ब्रह्माण्डसँग जोड्ने प्रयास पनि गरिएको छ। केही सिद्धान्तहरूले यो विचार अघि सारेका छन्। कि सम्भवतः विभिन्न ब्रह्माण्डबीचको सूक्ष्म ‘ग्लिच’ वा अन्तरक्रियाका कारण स्मृतिहरू आपसमा मिसिएका हुन सक्छन्।  

क्वान्टम भौतिकशास्त्रको मेनी-वर्ल्ड्स इन्टरप्रिटेसनले भन्छ। हरेक सम्भावित घटनाले नयाँ ब्रह्माण्ड सिर्जना गर्छ। हामीले जुन निर्णय वा अवलोकन गर्छौं। त्यसले एउटा रेखालाई छान्छ। तर अन्य सम्भावनाहरू अरू समानान्तर संसारमा जारी रहन्छन्। मन्डेला इफेक्टमा यी संसारहरू बीचको ‘स्लिप’ वा ‘मर्ज’ भएको हुन सक्ने धेरै धारणाहरु बाहिर आएका छन् ।

सर्नको लार्ज हेड्रोन कोलाइडर जस्ता उच्च ऊर्जा प्रयोगहरूले स्पेस-टाइममा साना-साना छिद्र निम्त्याएको र नजिकका समानान्तर ब्रह्माण्डसँग जोडेको हुन सक्ने अवधारणा पेश गर्छ ।

लेफ्ट-ब्रेनको सोचले मानिसलाई सिमिततामा सीमित गर्छ। तर हुन सक्ने सत्यमा अनन्त सम्भावनाहरू छन्।  

तर यी सबै विचारहरु वैज्ञानिक रूपमा प्रमाणित छैनन् । अधिकतम रूपमा परिकल्पनाको स्तरमै सीमित छ। 

अर्कोतर्फ,मनोविज्ञानले यसलाई स्मृति निर्माणको त्रुटि,सामाजिक प्रभाव, सूचना दोहोरिने प्रक्रिया र सामूहिक विश्वासको परिणामका रूपमा व्याख्या गर्छ। जब धेरै मानिसहरूले एउटै गलत जानकारी बारम्बार सुन्छन् वा पढ्छन्, त्यो जानकारी उनीहरूको स्मृतिमा ‘सत्य’ जस्तै स्थापित हुन सक्छ।  

जब हाम्रो सामूहिक चेतना एउटै विश्वासमा केन्द्रित हुन्छ। वास्तविकता त्यसैअनुसार बन्न बाध्य हुन्छ। मानिसले जे सोच्छ त्यहि आविष्कार गर्छ।

आठ दशमलव ७८ अंकले बढ्यो नेप्से

काठमाडौं।  मंगलबार सेयर बजारमा नेप्से परिसूचक उकालो लागेको छ। नेप्से ८.७८ अंकले वृद्धि भई २,७१२.८६ बिन्दुमा पुगेको हो।

आज तीन सय ३५ कम्पनीका कुल ७७ लाख ३४ हजार १२ कित्ता सेयर ६२ हजार २५ पटक किनबेच हुँदा कारोबार रकम ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रुपैयाँ पुगेको नेप्सेले जानकारी दिएको छ।

उपसूचकतर्फ, जीवन बीमा ०.१०%, उत्पादन तथा प्रशोधन ०.६३%, म्युचुअल फन्ड ०.४४% र अन्य समूह ०.०८% ले वृद्धि देखाए।

यता, विकास बैंक ०.०४%, वित्त ०.१२%, होटल तथा पर्यटन ०.०५%, लघुवित्त ०.२१% तथा निर्जीवन बीमा ०.१२% ले गिरावट दर्ज गरेको नेप्सेले जनाएको छ।

स्पेसएक्स र ब्लू ओरिजिन आमने-सामने

एजेन्सी । आर्टेमिस-२ क्रु आफ्नो ऐतिहासिक सर्कमलुनर यात्रा पूरा गरेर फर्किएपछि अब ध्यान चन्द्रमाको सतहमा मानव अवतरण गराउनेतर्फ केन्द्रित भएको छ। तर यो महत्वाकांक्षी लक्ष्य सम्भव बनाउने ल्यान्डरहरूको विकास कस्तो भइरहेको छ?

नासा ले हालै आर्टेमिस-३ का लागि संशोधित योजना सार्वजनिक गरेको छ। नयाँ योजनाअनुसार यो मिसन अब सन् २०२७ को अन्त्यतिर पृथ्वी कक्षामा क्रु परीक्षण गर्नेछ, जुन पहिले सन् २०२८ मा चन्द्र अवतरण गर्ने योजना थियो। यस मिसनमा नासाको ओरियन अन्तरिक्ष यान र चन्द्र ल्यान्डरमध्ये एक वा दुवैबीच पृथ्वी कक्षामा भेट हुनेछ, जुन अपोलो–९ मिसनसँग मिल्दोजुल्दो हुनेछ। त्यसपछि आर्टेमिस–४ मार्फत सन् २०२८ मा चन्द्र अवतरण गर्ने लक्ष्य राखिएको छ।

तर यो योजना नासाका साझेदारहरूको छिटो प्रगति माथि निर्भर छ।

नासाले पहिले नै दुई निजी कम्पनीलाई चन्द्र ल्यान्डर विकासका लागि छनोट गरिसकेको छ स्पेसएक्सको स्टारशिप ह्युमन ल्यान्डिङ सिस्टम र ब्लु ओरिजिनको ब्लु मुन ल्यान्डर। यी दुवै प्रणाली विकास चरणमा छन् र समय सीमाभित्र तयार हुनुपर्ने दबाबमा छन्।

स्पेसएक्सका प्रमुख एलन मस्कले पहिले मंगल ग्रहलाई प्राथमिकता दिए पनि अहिले चन्द्रमामा मानव बस्ती बसाउने योजनामा ध्यान दिएका छन्। स्पेसएक्सले हालसम्म स्टारशिप विकाससँग सम्बन्धित धेरै माइलस्टोन पूरा गरिसकेको छ, जसमा चन्द्र जीवन समर्थन प्रणाली, राप्टर इन्जिन परीक्षण, सफ्टवेयर विकास र अन्य परीक्षणहरू समावेश छन्।

तर सबैभन्दा ठूलो चुनौती भनेको अन्तरिक्षमा इन्धन स्थानान्तरण हो, जुन चन्द्र यात्राका लागि अत्यावश्यक मानिन्छ।

ब्लु ओरिजिनले भने चरणबद्ध रूपमा विकास गर्दैछ। पहिले ब्लु मुन मार्क–१ कार्गो ल्यान्डर परीक्षण गर्ने र त्यसपछि क्रु संस्करण विकास गर्ने योजना छ। यसको लागि नयाँ ग्लेन रकेट प्रयोग गरिनेछ।

नासाका अनुसार यदि कुनै पनि कम्पनी सन् २०२७ को कक्षीय परीक्षणका लागि तयार भयो भने आर्टेमिस-३ मिसन अगाडि बढाइनेछ।

नासा प्रशासक जारेड आइज्याकम्यानले दुबै कम्पनीले समयमै तयारी गर्ने प्रतिबद्धता जनाएको बताएका छन्।

आइपिएलमा आज चेन्नई र दिल्ली भिड्दै

नयाँदिल्ली।  भारतको प्रतिष्ठित इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्सले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको महत्वपूर्ण चरणमा प्रवेश गरिरहँदा दुवै टिमका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिएको छ।

चेन्नईले पछिल्ला खेलहरूमा सन्तुलित प्रदर्शन गर्दै आएको छ। बलिङ र ब्याटिङ दुवैतर्फ उत्साहजनक लय देखाइरहेका कारण टिम आज पनि उत्कृष्ट खेल्ने अपेक्षा गरिएको छ।

दिल्ली भने लगातार जीतको खोजीमा छ। सुरूआती चरणमा लय पक्रन कठिन भए पनि पछिल्ला खेलहरूमा टिमले सुधारको संकेत दिएको छ।

दुवै टिमका स्टार खेलाडी उत्कृष्ट फर्ममा रहेकाले आजको भिडन्त निकै कडा र रोमाञ्चक हुनेछ भन्ने अनुमान गरिएको छ।

यस खेलको नतिजाले प्लेअफ चित्रमा पनि महत्वपूर्ण प्रभाव पार्ने भएकाले क्रिकेटप्रेमीहरूमा उत्साह झनै बढेको छ।

खेल आज साँझ ७ बजेर ४५ मिनेटमा दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सुरु हुनेछ।