`

आर्बाका धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै

गण्डकी । पोखरा महानगपालिका–१३ स्थित आर्बा प्राकृतिक रूपमा आकर्षक र ऐतिहासिक महत्त्व बोकेको क्षेत्र भएकाले यहाँका धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ । करिब एक सय वर्षभन्दा पुरानो इतिहास रहेको यस क्षेत्रको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्न थालिएको हो ।

उत्तरपूर्वका दन्तेलहर जस्तै टलक्क टल्कने हिमाल, दक्षिणपश्चिममा पोखरासहित लेखनाथका टाढाटाढासम्मका भूभाग आर्बाको महाप्रभुधामबाट देख्न सकिन्छ । समुन्द्री सतहबाट एक हजार ३३५ मिटर उचाइमा अवस्थित यसस्थान प्राकृतिक रूपमा आकर्षक हुनुका साथै ऐतिहासिक र धार्मिक महत्त्व बोकेको छ ।

महाप्रभुधाम संरक्षण समितिका संरक्षक स्वामी दिनदयालजी महाराजका अनुसार एक सय वर्षभन्दा अघि यहाँ स्वर्गद्वारीबाट हंश महाराजका चेला कपिलदेव महाराजले एक महिनासम्म ठूलो महायज्ञ लगाएका थिए । उक्त अवसरमा यहाँ अखण्ड हवनसँगै गौदानलगायत विभिन्न किसिमका अनुष्ठानहरू एक साथ गरिएको इतिहास रहेको उनले जानकारी दिएका छन् ।

“यहाँ महायज्ञ गरी सिद्धी प्राप्त गरेको स्थान भएकाले यस क्षेत्रको विशिष्ट महत्त्व छ”, स्वामी दिनदयालजीले भने, “यो ठूलो धार्मिक महत्त्वको तीर्थस्थल हो । महाप्रभुधामसँगै यहाँ नजिकै रहेको मणिद्विपले पनि विशिष्ट धार्मिक महत्त्व बोकेको छ ।” पाल्पाका तत्कालीन राजा मणिमुकुन्द शेनले स्थापना गरेको मणिद्विपको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा पहल थालिएको उनले जानकारी दिएका छन्।

“यहाँका धार्मिक महत्त्वका सम्बन्धमा विभिन्न किंवदन्ती पनि छन् । एक किंवदन्ती अनुसार यहाँ नजिकै रतन पाण्डे मन्दिर र महाप्रभुधामको बीच भागमा प्राचीन कालमा एउटा पोखरी थियो । धार्मिक महत्त्वको उक्त पोखरीमा रुखका पात खस्नासाथ चराले टिपेर लैजान्थ्ये । यस्ता विभिन्न किसिमका किंवदन्तीले पनि यहाँको ऐतिहासिक महत्त्वलाई झल्काउने बुढापाकाहरू बताउँछन्”, स्वामी दिनदयालजीले भने।

करिब एक सय वर्षअघि महाप्रभुहरूले महायज्ञ सञ्चालन गर्दा निर्माण गरिएको हवन कुण्डले पनि यहाँको ऐतिहासिकतालाई थप प्रष्ट पार्ने महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष नवराज बरालले उल्लेख गरेका छन् । समितिले यहाँको ऐतिहासिकता एवम् धार्मिक महत्वलाई उजागर गर्ने उद्देश्यले विकासका क्षेत्रमा योजनाबद्ध काम गरिरहेको उनले बताएका छन् ।

उक्त समयको ऐतिहासिकताको जीवन्त साक्षी हवन कुण्डसहित धार्मिक महत्त्वका गुफा, गणेश तथा शिवजीको मन्दिर, रतन पाण्डेथानको संरक्षणसँगै प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा समिति अघि बढेको उनको भनाइ छ ।

पोखराको महेन्द्रपुलबाट आधा घण्टाभित्रै सवारीसाधनबाट पुग्न सकिने महाप्रभुधामसहित यहाँका विभिन्न स्थानहरूबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाल, दक्षिणतर्फ पोखराको मनमोहक दृश्य एकसाथ अवलोकन गर्न सकिने समितिका उपाध्यक्ष सूर्यप्रसाद बरालले जानकारी दिएका छन्। धार्मिक पर्यटनका दृष्टिले आर्बा सम्भावना बोकेको क्षेत्र भएकाले यस ठाउँको प्रवर्द्धन अपरिहार्य रहेको उनको भनाइ छ ।

महाप्रभुधामसँगै यहाँ रहेका मणिद्विप, रतन पाण्डेको मन्दिरलगायत स्थानलाई समेटेर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेतर्फ आँफूहरू लागिरहेको समितिका सचिव भोजराज बरालले बताए ।

महाप्रभुधाम नजिकै रहेको रतन पाण्डे मन्दिर यहाँको अर्को धार्मिक महत्त्वको स्थानका रूपमा चिनिएको उक्त मन्दिर संरक्षण समितिका अध्यक्ष घनश्याम बरालले उल्लेख गरेका छन् । यसको थप प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उनले जोड दिएका छन् ।

उनका अनुसार रतन पाण्डे मन्दिरमा प्रत्येक वर्ष धान रोप्ने र भित्र्याउने समयमा यहाँका स्थानीयले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्दछन् । रतन पाण्डेको पूजाका दिन आर्बा क्षेत्रमा हलो नचल्ने प्रचलन प्राचीन समयदेखि रहिआएको उनले जानकारी दिएका छन्।

“रतन पाण्डेलाई वायुका राजाका रूपमा लिने गरिएको छ”, अध्यक्ष बरालले भने, “यहाँ अत्यन्त निष्ठापूर्वका पूजाआजासँगै तयार गरिएको प्रसाद मन्दिर परिसरमा बसेर धारण गर्नुपर्ने, घरमा लैजान नहुनेलगायत विधि र प्रक्रिया रहेकाले यसको विशेष महत्त्व छ ।”

पछिल्ला समयमा महाप्रभुधाम र मणिद्विपमा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन ठूलो मेला लाग्ने तथा शतबीज छर्ने प्रचलन रहेको समाजसेवी शिरोमणि बरालले जानकारी दिएका छन् । उनका अनुसार आर्बामा बस्ती स्थापना हुँदा गाउँको पूर्वमा मणिद्विप नागेश्वर महादेव स्थापना गरिएको थियो ।

स्थानीयका अनुसार शक्तिशाली शक्तिपीठका रूपमा रहेको यस मन्दिरमा धेरै पटक नाग प्रकट भएका थिए । मन्दिरमा भक्तिपूर्वक पूजा गर्दा निःसन्तान दम्पतीलाई सन्तान प्राप्त भएकाले टाढाटाढाबाट दर्शनार्थी आउने गरेका स्थानीय बताउँछन् । नागको दोषका कारण स्वास्थ्य, लगानीलगायत समस्यामा परेका व्यक्ति पनि यहाँ आएर श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेर फर्केपछि समस्याबाट मुक्त हुने जनविश्वास रहिआएको रतन पाण्डे मन्दिर संरक्षण समितिका अध्यक्ष बरालले जानकारी दिएका छन्।

प्राचीनकालदेखि सन्यासी बस्दै आएको यहाँको खरले छाएको मन्दिर विसं २०६२ मा पुनःनिर्माण गरिएको थियो । विसं २०६३ मा हरिद्वारका महामण्डलेश्वरसहित विशिष्ट व्यक्तिको उपस्थितिमा मणिद्विपमा महायज्ञ गरी उक्त मन्दिरमा नर्मदा नदीबाट ल्याइएको शिलाको प्राण प्रतिष्ठा गरिएको थियो ।

प्रतिष्ठापनका बेला शिलामा लामो समयसम्म पसिना आएको स्थानीयको अनुभव छ । शिलाको प्राणप्रतिष्ठा भारतबाट आएका १००८ स्वामी बालसन्त महामण्डलेश्वर रामेश्वरजी महाराज, १००८ स्वामी सोमेश्वरजी महाराज, १००८ स्वामी विष्णुराजजी महाराज, स्वामी सुतिक्षणजी महाराजलगायत सन्तमहन्तले गरेका थिए ।

करिब १५ वर्षअघि भारतको हरिद्वारबाट आएका १००८ महामण्डलेश्वर रामेश्वरजी महाराज, १००८ महामण्डलेश्वर सुतिक्षण मुनीजी महाराज, सन्त दिनदयालजी महाराजको उपस्थितिमा महाप्रभुधाममा शतबीज छर्न सुरु गरेसँगै यो स्थल धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण बनेको महाप्रभधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिका पूर्वअध्यक्ष धर्मराज बरालले जानकारी दिएका छन् ।

महाप्रभुधामसहित मणिद्विप, रतन पाण्डेलगायत धार्मिक स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सन्दर्भमा सरोकार भएका निकायसँगको समन्वयमा आँफूहरू लागिरहेको पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले बताएका छन्। महाप्रभुधाम क्षेत्रको विकासका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको बताउँदै उनले यहाँका पूर्वाधार विकासका लागि करिब रु १२ करोड खर्च लाग्ने अनुमान गरिएको जानकारी दिएका छन् ।

चितवनविरुद्ध लुम्बिनीले पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सले पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा चितवनविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । एनपीएलमा लुम्बिनीले पहिलो खेल खेल्न लागेको हो । चितवन भने दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई पराजित गरेको थियो ।

अघिल्लो खेलको टोलीमा चितवनले एक खेलाडी परिवर्तन गरेको छ । विपिन आचार्यको स्थानमा अमरसिंह राउटेला सुरुवाति ११ मा परेका छन् । ट्यालेन्ट हन्टबाट आएका लुम्बिनीका समिर अलीले एनपीएलमा डेब्यु गर्दै छन्। लुम्बिनीको यो पहिलो खेल हो ।
लुम्बिनी लायन्स–रोहित पौडेल, सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, अविशेष गौतम, दिनेश अधिकारी, डि आर्सी जोन म्याथु सर्ट, गुल्बदिन नैब, रुबेन ट्रम्पल म्यान, जोनाथन स्मिथ, समिर अली ।
चितवन राइनोज– कुशल मल्ल, रिजन ढकाल, देव खनाल, अर्जुन साउद, अमरसिंह रौटेला, दिपक बोहरा, कमलसिंह ऐरि, डेबिड मलान, रबि बोपारा, सैफ जैब, सोहेल तनवीर ।

महेश बस्नेतको चेतावनी : अब जहाँ अवरोध, त्यहाँ प्रतिवाद

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्नो पार्टी र संगठनमाथि बिना कारण अवरोध सिर्जना गरिए प्रतिवाद गर्ने चेतावनी दिएका छन् । आज (बिहीबार) रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा अनेरास्ववियुद्वारा आयोजित भलिबल प्रतियोगिताको फाइनल खेललाई सम्बोधन गर्दै नेता बस्नेतले बाराको घटनालाई लिएर यस्तो अभिव्यक्ति दिएका हुन् ।

लोकतान्त्रिक पद्धतिमा आलोचना र विरोध स्वीकार्य हुने तर नियोजित अवरोध मान्य नहुने बताउँदै बस्नेतले भने, ‘हामी आलोचना सहन्छौं, तर बिना गल्ती हामीलाई अवरोध गरिन्छ भने– ‘जहाँ अवरोध त्यहाँ प्रतिरोध हुन्छ’ भन्ने सिद्धान्त बोकेर हामी अघि बढ्छौं ।’ बुधबार बारामा आफू सहभागी हुने कार्यक्रममा भएको अवरोधतर्फ संकेत गर्दै उनले एमालेका युवा र विद्यार्थीहरूलाई अराजकताविरुद्ध डटेर सामना गर्न निर्देशन समेत दिएका छन् । ‘कुनै पनि दल वा समूहलाई अवरोध गर्ने अधिकार कसैलाई छैन,’ उनले भने, ‘बाटो छेक्ने र कार्यक्रम बिथोल्ने जस्ता अराजक गतिविधि गर्नेहरूलाई हामी छोड्दैनौं ।’

सम्बोधनका क्रममा बस्नेतले पछिल्लो समय उठेको जेन–जी आन्दोलन र सामाजिक सञ्जालका अभियानहरूमाथि पनि तीखो टिप्पणी गरे । उनले एमाले र केपी ओलीविरुद्ध सामाजिक सञ्जालमा ‘म्यानुपुलेसन’ भइरहेको दाबी गरेका छन् । ‘सामाजिक सञ्जालमा अहिले सूचनाको प्रदूषण छ,’ उनले भने, ‘यहाँ मिसन असफल पार्न खोज्नेहरूलाई दानवीकरण र आफ्ना मान्छेलाई देवत्वकरण गर्ने खेल भइरहेको छ । हामीले यो भ्रमलाई चिर्नुपर्छ ।’ उनले मंसिर २३ को आन्दोलनका एजेण्डाहरू सुशासनको पक्षमा भए पनि त्यसलाई अराजकता फैलाउने माध्यम बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाए ।

कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिको प्रसङ्ग कोट्याउँदै बस्नेतले केपी ओली नेतृत्वको सरकारले गरेका पूर्वाधार विकासका कामहरूलाई ओझेलमा पार्न खोजिएको गुनासो गरे । उनले भने, ‘अहिले मैदानमा एनपिएल सुरु भएको छ, फ्लड लाइट जडान भएको छ । यो भिजन र बजेट केपी ओलीकै पालामा सुनिश्चित भएको हो भन्ने कुरा युवाहरूले बिर्सनु हुँदैन ।’ विद्यार्थीहरूलाई हौसला दिँदै उनले शैक्षिक थलोलाई प्राज्ञिक र अनुशासित बनाउन आग्रह गरे । कुनै पनि अराजक दल वा समूहको उक्साहटमा नलाग्न आग्रह गर्दै उनले भने, ‘तपाईंहरूको खेल र अनुशासनले देशको गौरव बढाउँछ, कसैको बहकाउमा नलाग्नु होस् ।’

सिंहदरबारमा सुरक्षा परिषदको बैठक जारी

काठमाडौँ । बाराको सिमरा क्षेत्रमा बुधबारदेखि सुरु भएको तनाव थप चर्किन थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बिहीबार बैठक बसिरहेको हो । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा सहभागी हुन बुधबार बारा जाने कार्यक्रम थियो । एमालेसँगको विवादका कारण सिमरास्थित विमानस्थलमा हिजो जेनजी युवाहरूले तोडफोड गरेका थिए ।त्यसपछि त्यहाँ कर्फ्यू आदेश जारी भएको छ ।

त्यो कफ्र्यु बिहीबार राति ८ बजेसम्मका लागि लम्ब्याइएको छ । हिजोदेखि सुरु तनाव नरोकिएपछि आज पुनः कफ्र्यु जारी गरिएको हो । यसअघि गत शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समिति बैठकले निर्वाचनमा सेना परिचालनका लागि रक्षा मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको थियो । निर्णय बमोजिम रक्षा मन्त्रालयमा पत्र पनि पुगिसकेको स्रोतले बताएको छ । सेना परिचालनका लागि सुरक्षा परिषद्ले निर्णय गर्नुपर्ने भएकाले त्यसबारे पनि आज छलफल भइरहेको सम्बद्ध स्रोतले जानकारी दियो ।

सिमरामा हवाई फायर र अश्रुग्यास प्रहार : वार्ताका लागि जेनजीले राखे शर्त

बारा । जेनजी प्रदर्शनकारीलाई सडक प्रदर्शन रोक्न गरिएको अनुरोध अटेर गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताएका छन् । सीडीओले बोलाएको वार्तामा जानका लागि जेन–जीका जिल्ला संयोजक सम्राट उपाध्याय कलैयातर्फ हिँड्नै लाग्दा जेन–जी समूहबीचमै विवाद भएपछि अहिले उनीहरू सिमराको मुख्य बजारमा बैठक बसिरहेका छन् ।

बुधवार जेन–जीको शान्तिपूर्ण प्रदर्शनमा गएर अभद्र व्यवहार प्रदर्शन गर्ने अरविन्द साहलाई पक्राउ गर्नुपर्ने उनीहरूको मुख्य माग छ । जिल्ला प्रहरी प्रमुख तामाङले साह प्रहरीको निगरानीमै रहेको र पक्राउ गर्ने बाचा गरेका छन् । यद्यपि, उनी पक्राउ परिसकेका छैनन् ।
साह पक्राउ परेपछि मात्रै वार्तामा जाने अडानमा केही जेन–जी समूह छन् । जिल्ला संयोजक उपाध्याय भने वार्तामा हिँडिसकेका थिए । अन्य जेन–जी समूहले आफूहरूको सहमतिबिना वार्तामा जान नपाइने भनेपछि उनी फर्किएर सिमरामा छलफल गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराले संवादबाट समाधान निकाल्न आन्दोलनरत जेनजी युवालाई वार्तामा बोलाएको थियो । जेनजी युवाले एमाले युवा संघका नेता अरविन्द साह पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान राखेका छन् । जेनजी अगुवा सम्राट उपाध्यायले वार्तामा बस्नुअघि साहलाई पक्राउ गर्नुपर्ने बताए । बारा प्रशासनले जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरेर वार्ताका लागि कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा बोलाएको थियो । बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार जेनजी समूहले वार्ता टोलीलाई घटनास्थलमै बोलाएका छन् । युवा संघका स्थानीय नेता साहले नै बुधबार जेनजी युवामाथि पहिलो मुक्का प्रहार गरेको आरोप छ । उनी हालसम्म फरार छन् ।

नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ

डोल्पा (ठूलीभेरी) । नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ ।

बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा आज दुनैमा आयोजित कार्यक्रममा बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्दै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बंैकिङ सेवा सहज होस् भन्ने ध्येयले एटिएम सेवा सञ्चालन गरिएको जानकारी दिएका छन् ।

उनले भने, “सूचना प्रविधिका युगमा डोल्पाका नागरिक र काठमाडौँका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने बैंकको उद्देश्य रहेको छ । ” डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैंकमा एटिएम छैन भन्ने युगको अन्त्य भएको भनाइ राखेको छ ।

ठूलीभेरी नगरपालिका– ३ का वडाध्यक्ष भक्तबहादुर भण्डारी, उद्योग वाणिज्य सङ्घ डोल्पाका अध्यक्ष लालीमान बुढा लगायतले नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ गरेकामा धन्यवाद व्यक्त गरेका छन्।

उनीहरुले आगामी दिनमा घरजग्गा धितो राखेर सहजै व्यवसायको लागि ऋण लिने व्यवस्था गर्न माग गरेका छन । बैँकका शाखा प्रमुख भवि भण्डारीले ग्राहकलार्ई एटिएम कार्र्ड उपलब्ध गराउने जानकारी दिएका छन् ।

बिहारको मुख्यमन्त्रीको कुर्सीमा १० औ पटक नितिश कुमार, यी हुन् मुख्य १० योजना

काठमाडौं । जनता दल (युनाइटेड) का प्रमुख नितिश कुमारले बिहीबार १०औं पटक बिहारको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायतका भाजपा तथा एनडीएका वरिष्ठ नेताहरू उपस्थित भएका छन् । पटनाको ऐतिहासिक गान्धी मैदानमा आयोजित शपथ ग्रहण समारोहमा २६ जना मन्त्रीले पनि शपथ लिएका छन्, जसमा तीन महिला र एक मुस्लिम विधायक रहेका छन् । समारोहमा करिब तीन लाख मानिस उपस्थित थिए । प्रत्येक विधायकलाई आफ्ना ५ हजार कार्यकर्तालाई उपस्थित गराउन उर्दी दिइएको थियो ।

यसमा भाजपाको कोटाबाट १४ मन्त्री र जेडीयू कोटाबाट ९ मन्त्रीले स्थान पाएका छन् । योसँगै चिराग पासवानको एलजेपी (रामविलास) ले दुई मन्त्री पायो । जितनराम मान्झीको हम पार्टीले एउटा र उपेन्द्र कुशवाहाको राष्ट्रिय लोक मोर्चाले पनि एक मन्त्री पद पाएको छ ।
बिहारको नयाँ सरकारमा विजयकुमार चौधरी, विजयेन्द्रप्रसाद यादव, श्रवणकुमार, मंगल पाण्डे, दिलीप जैसवाल, अशोक चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । त्यसपछि राज्यपाल आरिफ मोहम्मद खानले लेसी सिंह, नितिन नवीन, मदन साहनी, राम कृपाल यादव, सन्तोषकुमार सुमन र सुनिल कुमारलाई पद तथा गोपनीयताको शपथ गराए ।

मोहम्मद जामा खान, सञ्जय सिंह टाइगर, अरुण शंकर प्रसाद, सुरेन्द्र मेहता, नारायण प्रसाद, रामा निषादलाई पनि शपथ ग्रहण गराइएको थियो । अन्तमा लखेन्द्रकुमार रोशन, श्रेयसी सिंह, डा. प्रमोद कुमार, सञ्जय कुमार, सञ्जयकुमार सिंह र दीपक प्रकाशले शपथ ग्रहण गरी कार्यक्रमको समापन भयो । नितिश कुमार ७४ वर्षको उमेरमा १० औँ पटक मुख्यमन्त्री बनेका हुन् ।

उनी सन् २००० मा पहिलो पटक मुख्यमन्त्री बनेका थिए, तर सातै दिनमा सरकार ढलेको थियो । सन् २००५, २०१०, २०१५ र २०२० मा पनि उनले बहुमतसहित सरकार गठन गरेका थिए । यो कार्यकाल सुरु भएपछि एनडीएले २४३ मध्ये २२२ सीट जितेर ऐतिहासिक बहुमत हासिल गरेको छ, जबकि महागठबन्धन ३५ सिटमा सीमित रह्यो । नितिश कुमार अहिलेसम्म करिब १९ वर्ष मुख्यमन्त्री रहिसकेका छन् र यदि यस कार्यकाल पूरा भए उनी भारतको इतिहासमा तेस्रो सबैभन्दा लामो कार्यकाल भएका मुख्यमन्त्री हुनेछन् । उनीले मुख्यमन्त्री रहँदा १४ जना राज्यपालसँग काम गरिसकेका छन्, जसले उनलाई अर्को रेकर्ड दिलाएको छ ।

नितिश कुमारको नेतृत्वमा नयाँ सरकारले बिहारका लागि १० महत्वपूर्ण योजनाहरू लागू गर्ने वाचा गरेको छ । कृषि विकास–कर्पूरी ठाकुर किसान सम्मान निधि अन्तर्गत किसानलाई वार्षिक ३ हजार रुपैयाँ दिने, पञ्चायतस्तरमा प्रमुख बालीको न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने, ब्लक तहमा खाद्य प्रशोधन इकाई र चिलिङ केन्द्र स्थापना गर्ने, कृषि पूर्वाधारमा एक लाख करोड रुपैयाँ लगानी गर्ने रहेका छन् । यस्तै पूर्वाधार र यातायाततर्फ सात एक्सप्रेसवे र चार नयाँ शहरमा मेट्रो , अमृत भारत एक्सप्रेस र ३,६०० किलोमिटर रेल ट्रयाकको आधुनिकीकरण, १० नयाँ शहरमा आन्तरिक उडान र पटना नजिकै ग्रीनफिल्ड अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्णिया, भागलपुर र दरभंगा विमानस्थल निर्माण लगायतका योजना रहेका छन् ।

त्यस्तै शिक्षा र स्वास्थ्यतर्फ केजीदेखि स्नातकोत्तरसम्म निःशुल्क गुणस्तरीय शिक्षा, विद्यालयमा पौष्टिक दिवा खाजा र आधुनिक सीप ल्याब उपलब्ध गराउने, पञ्चामृत ग्यारेन्टी : गरिबलाई निःशुल्क राशन, १२५ युनिट बिजुली र ५ लाखसम्म निःशुल्क उपचारको योजना रहेका छन्।
त्यस्तै महिला र उद्यमशीलतातर्फ महिला रोजगार योजना अन्तर्गत महिलालाई २ लाख रुपैयाँ सहयोग, एक करोड महिलालाई लखपति दिदी बनाउने, मिशन करोडपति अन्तर्गत उद्यमीलाई करोडपति बनाउने योजना छन् ।

औद्योगिक विकासतर्फ प्रत्येक जिल्लामा १० नयाँ औद्योगिक पार्क, सीपमा आधारित रोजगारी र मेगा कौशल केन्द्र स्थापना, ५० लाख पक्की घर र सामाजिक सुरक्षा पेन्सन । नोकरी सिर्जनातर्फ एक करोडभन्दा बढी नयाँ रोजगारी सिर्जना, युवाहरूलाई राज्यभर रोजगारीको अवसर उपलब्ध गराउने लगायतका योजना छन् । शपथ ग्रहण समारोहमा २ हजार ५ सय बढी सुरक्षाकर्मी तैनाथ थिए । प्रधानमन्त्री मोदीले नितिश कुमारलाई बधाई दिँदै ‘बिहारका लागि नयाँ अध्याय सुरु भएको’ बताएका छन् । नितिश कुमारको १०औं कार्यकाल केवल व्यक्तिगत कीर्तिमान मात्र होइन, बिहारका लागि विकास, रोजगारी, शिक्षा र स्वास्थ्य सुधारको नयाँ अध्यायको सुरुवात पनि हो । अब जनताको आँखा यी योजनाहरूको कार्यान्वयनमा कसरी हुन्छ भन्नेमा केन्द्रित छ ।

दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

तनहुँ । जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्गलाई स्तरोन्नति गरी चक्रपथ(रिङ्गरोड)का रूपमा विकास गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा नाला निर्माण, सडक विस्तार र कालोपत्रेका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएपछि उक्त खण्डमा अहिले तीव्रताका साथ काम भइरहेको छ ।

दमौली–केशवटार, धरमपानी, बन्दीपुर हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसँग जोडेर चक्रपथका रूपमा विकास गर्न लालिगएको व्यास–१४ का कार्यवाहक वडाध्यक्ष दुर्गा आलेले जानकारी दिएका छन् । उनले भने, “यस खण्डमा पर्ने १४ किमीमध्ये हालसम्म सात किमी सडक कालोपत्र भइसकेको छ ।” उक्त विनियोजित बजेटले यस वर्ष एक किमी कालोपत्र गरेपछि छ किमी बाँकी रहने उनले बताएका छन् ।

सहरी पूर्वाधार विकास तथा शासकीय कार्यक्रमअन्र्तगत विश्व बैंकको रु छ करोड ऋण अनुदान व्यास नगरपालिकाबाट स्वीकृत भएर दोस्रो चरणका लागि प्रक्रिया अघि बढाइएको व्यासका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिएका छन्। उनले भने, “नगरपालिकाबाट गत भदौमा आवश्यक कागजपत्र पेस गरिसकिएको छ । सहयोगी दाता सकारात्मक छन्, जेनजी आन्दोलनका कारण केही समय ढिलाइ भएको हो ।”

गण्डकी प्रदेश सरकारबाट रु एक करोड बजेट पुनः विनियोजन भएको जनाउँदै केशवटार मोटरमार्ग स्तरोन्नतिका लागि नगरले पटकपटक गरी हालसम्म करिब रु चार करोड बजेट विनियोजन गरिसकेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताएका छन् । उनले भने, “यो मोटरमार्गको स्तरोन्नतिका लागि नगरले बर्सेनि बजेट विनियोजन गर्दै आइरहेको छ ।”

आदिवासी जनजातिको बाहुल्यता रहेको यस क्षेत्रमा घरबासका रूपमा पर्यटन प्रवर्द्धन कार्य हुँदै आएको छ । स्थानीय कला, संस्कृति र परम्पराको जर्गेना गर्दै स्थानीय उत्पादनलाई घरबासमा प्राथामिकता दिइँदै आइएको कार्यवाहक वडाध्यक्ष आलेले बताएका छन् । उनले भने, “सडक पहुँच वृद्धि भएसँगै अब छिट्टै केशवटार सुगम गाउँ बन्ने अपेक्षा गरिएको छ ।”

सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण

जुम्ला । जिल्लाको सिञ्जा गाउँपालिका–२ स्थित रनुखानामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलबाट करिब चार सय परिवार लाभान्वित भएका छन् । यसअघि, पुल निर्माण नहुँदा स्थानीयवासी र विद्यार्थीलाई यात्रा गर्न समस्या हुने गरेको थियो ।

अहिले पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि स्कुले विद्यार्थीलाई आवागमनमा सहज भएको सिञ्जा–२ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिएका छन् । उनका अनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयको रु ५५ लाख बजेटमा गत वर्ष उपझोक्ता समितिसँग सम्झौता भई निर्माण सुरु भएको हो । चालु आवको कात्तिकको पहिलो सातामा निर्माण सम्पन्न भएको पुल अहिले सञ्चालनमा आएको उनले बताएका छन् ।

यसले वडा कार्यालयभित्र पर्ने माध्यमिक विद्यालय चुलेलगाउँ, विष्टबाडार रनुखानाका विद्यार्थीलाई आवतजावत गर्ने सहज भएको स्थानीय बताउँछन् । एक गाउँबाट अर्को गाउँसम्म जोड्नका लागि करिब ७२ मिटर लम्बाइको झोलङ्गे पुल पुल निर्माण गरिएको वडाध्यक्ष वडले उल्लेख गरेका छन् । पुल बनेपछि घुमाउँरो, लामो बाटो हिँड्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकरप्रसाद सिंहले रु ५५ लाख लगानीमा उपभोक्ता समितिले निर्माण गरेको पुलबाट चार सय परिवारका साथै आगन्तुकहरू लाभान्वित भएका जानकारी दिएका छन्।

नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ

डोल्पा (ठूलीभेरी) । नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ ।

बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा आज दुनैमा आयोजित कार्यक्रममा बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्दै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बंैकिङ सेवा सहज होस् भन्ने ध्येयले एटिएम सेवा सञ्चालन गरिएको जानकारी दिए ।

उनले भने, “सूचना प्रविधिका युगमा डोल्पाका नागरिक र काठमाडौँका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने बैंकको उद्देश्य रहेको छ । ” डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैंकमा एटिएम छैन भन्ने युगको अन्त्य भएको भनाइ राखे ।

ठूलीभेरी नगरपालिका– ३ का वडाध्यक्ष भक्तबहादुर भण्डारी, उद्योग वाणिज्य सङ्घ डोल्पाका अध्यक्ष लालीमान बुढा लगायतले नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ गरेकामा धन्यवाद व्यक्त गरे ।

उनीहरुले आगामी दिनमा घरजग्गा धितो राखेर सहजै व्यवसायको लागि ऋण लिने व्यवस्था गर्न माग गरेका छन । बैँकका शाखा प्रमुख भवि भण्डारीले ग्राहकलार्ई एटिएम कार्र्ड उपलब्ध गराउने जानकारी दिए ।

बाराका सीडीओले जेनजी युवालाई बोलाए वार्तामा

काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवाहरूलाई संवादका लागि वार्ता आह्वान गरेका छन् । प्रजिअ मिश्रले जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी समस्याको समाधान वार्ताबाटै गर्नुपर्ने आवश्यकता बताएका हुन् । उनले संवादको माध्यमबाट स्थिति समाधान गर्ने विश्वास व्यक्त गर्दै उपाध्यायलाई वार्ता गर्न आह्वान गरेका हुन् ।

जेनजी अगुवा सम्राट उपाध्यायले संवादबाटै समाधान खोज्नुपर्छ भनेर प्रजिअले फोन गरेको बताएका छन् । ‘उहाँले हामीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाउनु भएको थियो, तर हामी त्यहाँ जान सक्ने अवस्था छैन । तपाईंहरू यहाँ आउनुहोस् भनेका छौं’ उनले भने । प्रहरीको लाठीचार्जबाट धेरै जेनजी घाइते भएका उनले बताए । प्रदर्शनकारीहरूले भने इलाका प्रहरी कार्यालय सिमरामा वार्ता गर्नुपर्ने अडान राखेका छन् ।

 

भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त

भोजपुर । भोजपुरका किसान यो समयमा कोदो थन्काउने काममा व्यस्त छन्। धान भण्डारणको काम सकिएलगत्तै किसानहरू कोदो भण्डारणमा कार्यमा जुटेका हुन्। कोदो भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ ।

कोदो खेती भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सीका, दावासँगै जिल्लाका सबै स्थानीय तहमा गरिन्छ। व्यवसायिक रूपमा खेती गर्ने किसान कम भए पनि घरायसी प्रयोजनका लागि अधिकांश किसान वर्षेनी कोदो रोप्ने गर्छन्। हाल स्थानीय बजारमा कोदो प्रतिकेजी ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ ।

पुरानो रैथाने बाली भएकाले वर्षेनी कोदो लगाइरहेको किसान धनबहादुर थापा बताए । गाउँघरका किसान यो समयमा कोदो पिप्ने, कोदोको घाँस थक्याउने, कोदो कुट्ने काममा व्यस्त रहेको उनको भनाइ छ । यस वर्ष वर्षातका कारण कोदो लडेकाले टिप्न अलि समस्या रहेको किसानको भनाइ छ । “गाउँघरमा अहिले कोदो थन्काउने चटारो छ”उनले भने,“ व्यवसायिक रूपमा नभएपनि घरायसी आवश्यकता पूरा गर्न कोदो रोप्ने चलन हाम्रो ठाउँमा अझै छ।” श्रम धेरै लाग्ने र उत्पादन कम हुने भएकाले यसतर्फ किसानको आकर्षण घट्दै गएको उनको भनाइ छ। कोदाको मूल्य स्थिर नहुँदा पनि बेचबिखनमा समस्या हुने गरेको किसानहरूको गुनासो छ ।

कोदोबाट रोटी, ढिंडो, केक, पेय पदार्थदेखि विविध परिकार बनाउन सकिने भएकाले यसको माग स्थिर रहँदै आएको छ। कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष पाँच हजार २७० हेक्टर क्षेत्रमा कोदोखेती गरिएको थियो । यस वर्ष पनि सोही हाराहारीमा कोदो खेती भएको केन्द्रले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएकी छिन् । आज दिउँसो २ः३० बजे बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्ने बैठकले फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ ।

एकीकृत निर्वाचन सुरक्षा योजना–०८२ केन्द्रीय सुरक्षा समितिबाट पारित भइसकेको छ । सेना परिचालनको सिफारिस प्रयोजनार्थ गृहमन्त्रालयले रक्षा मन्त्रालयमार्फत सुरक्षा परिषद्मा पत्राचार गरिसकेको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनले बिग्रिएको शान्ति सुरक्षाको अवस्था अहिले पनि साम्य भइसकेको छैन । निर्वाचनका लागि सुरक्षा वातावरण नभएको भन्दै दलहरूले सरकारको आलोचना गरिरहेका छन् । सुरक्षा वातावरण बनाउन भन्दै सरकारले यस पटक नेपाली सेनालाई चाँडै फिल्डमा उतार्न लागेको हो ।

यसअघिका निर्वाचनमा निर्वाचन हुनुभन्दा एक महिनाअघि मात्रै सेना परिचालन गरिँदै आएको थियो । तर, यस पटक सुरक्षा अवस्था असामान्य रहेकाले पहिल्यै सेना खटाउन लागिएको हो । ३५ सय मतदान केन्द्र अति संवेदनशील, केही दिनमै सेना खटाउने सरकारको तयारी छ । बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालले आजै बिहान पनि आफ्ना मातहतका सबै सुरक्षा प्रमुखसँग सिंहदरबारमा छलफल गरेका थिए ।

जेनजी युवाहरूले बुधबार सिमरा विमानस्थलमा तोडफोड गरेका थिए । एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । बुधबार साँझ ८ बजेसम्म कफ्र्यु लगाइएको थियो । आज पुनः अवस्था तनावग्रस्त बनेपछि त्यहाँ कर्फ्यु लगाइएको छ । उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा मजबुत बनाउन राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गराएको छ ।

 

 

 

 

जेनजी आन्दोलनका सहिद : सुशासन कायम गराउने आन्दोलनमा श्रीयमको बलिदानी

बेलबारी(मोरङ) । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग घर भई पढाइको सिलसिलामा काठमाडौँ रहेका श्रीयम चौलागाईंको उच्च शिक्षा आर्जन गरी देशभित्रै बसेर समुन्नत जीवन जिउने उत्कट चाहनाबीचमै तुहिन पुग्यो ।

गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा प्रहरीको गोली लागेर कलिलो उमेरमै यस संसारबाट बिदा भएको छ । मोरङको लक्ष्मीमार्ग घर भएका श्रीयम केही वर्षअघि इटहरीबाट प्रवेशिका परीक्षा सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ गएका थिए । काठमाडौँको ग्लोबल कलेजमा कक्षा १२ मा अध्ययनरत उनी राजनीतिमा सक्रिय नभए पनि जेनजीको आन्दोलनले उनलाई आकर्षित गरेको थियो । १८ वर्षीय श्रीयम स्कुल पोसाकमै प्रहरीको गोली लागेर नयाँबानेश्वर सडकमा ढलेका थिए। उनि परिवारका दोस्रो सन्तान हुन् , उनकी दिदीको विवाह भइसकेको छ ।

श्रीयम आमाबुबासँग काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलामा भाडाको कोठामा बँस्दै आएका थिए । उनको निधनसँगै ५२ वर्षीय बुबा गणेशप्रसाद र ४४ वर्षीय आमा गङ्गाको आशा, भरोसा अनि सपना सबै सेलाएको छ । गणेश पेसाले यातायात व्यवसायी हुन् । छोराको पढाइकै लागि परिवारै काठमाडौँ आएको बताउँदै बुबा गणेश भन्छन्, “पढाइमा राम्रो भएकाले मोरङबाट काठमाडौँ ल्याएर राम्रो कलेजमा भर्ना गराएका थियौँ ।”

आफ्नो छोराको मृत्युलाई सार्थक बनाउन जेनजी सहिद परिवार सङ्घर्ष समितिमा पनि उनि आबद्ध छन् । मृतकको परिवारलाई न्याय महसुस गराउन राज्यसँग १४ बँुदे मागसहित समिति बनाएर लागिपरेको गणेश बताँउछन् । यसमा भदौ २३ गतेको घटनाका दोषीलाई कारबाही, मृतक परिवारलाई निःशुल्क शिक्षा, स्वास्थ्य र पेन्सनलगायत माग गरिएको छ । तीमध्ये कतिपय माग पूरा हुँदै गरेको उनले बताएका छन् । यति ठूलो राजनीतिक घटनाक्रममा भएका सहिदप्रति कोशी प्रदेश सरकार र बेलबारी नगरपालिकाले कुनै चासो नदेखाएकोप्रति दुःख लागेको गणेशले बताए ।

सबैभन्दा ठूलो कुरा त, जुन उद्देश्यका लागि श्रीयम र अरू थुप्रै नवजवानले ज्यान दिए, त्यो उद्देश्य अनुरूप देश बनाउन सरकार र राजनीतिक दल एकजुट भएहुन्थ्यो भन्ने उनको भनाइ छ । भदौ २३ गते श्रीयम देशलाई सुशासन साथै दिगो निकास दिनुपर्छ भन्ने उत्साहका साथ आन्दोलनमा सहभागी बने तर विडम्बना अब उनी सकुशल घर फर्कन सकेनन् । श्रीयमका लक्ष्मी मार्ग रहेका काका राजन चौलागाई भन्छन्, “हामीले हाम्रो सन्तान गुमायौँ, देशले एक असल युवा गुमायो । सहिदको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ ।”

श्रीयमका मामा केशव कार्कीले भने, ‘‘भाञ्जा पढाइमा तेज थिए । राजनीतिमा खासै चासो थिएन जस्तो लाग्छ तर त्यो आन्दोलनमा जान्छु होला भनेर दुई दिनअघि मात्र विदेशमा रहेकी दिदीसँग कुरा भएको रहेछ ।’’ श्रीयमले इटहरीस्थित मामासँगै बसेर कक्षा ९ र १० पढेका थिए । केशव भन्छन्, ‘‘उनी देशलाई निकास दिनुपर्छ भन्ने उत्साहका साथ भदौ २३ को आन्दोलनतिर हिँडे तर अब उनी सहिद भए ।’’ भदौ २३ गते म रङ्गशालामा खेलाडी छनोट प्रक्रियामा थिए, एक्कासि भाञ्जालाई गोली लागेको खबर आयो कार्की बताँउछन् ।

‘‘म आफैँ ट्रमा सेन्टर पुगेको थिएँ, जहाँ मृतकको सूचीमा श्रीयमको नाम सातौँ नम्बरमा देखेँ, एक्कासि टाउको फुट्ला जस्तो भयो । सम्हालिन धेरै बेर लाग्यो । सँगैहुर्काएको र पढाएको अनिसँगै हिँडेको सम्झनाले भतभती पोलिरह्यो । घरमा खबर गर्ने हिम्मत पनि तुरुन्त जुटेको थिएन’’ उनले भन्छन् ।

सहिद श्रीयमले कक्षा ९ र १० सुनसरीको इटहरी ५ स्थित रहेको मकालु बोर्डिङ स्कुलमा अध्ययन गरेका हुन् । स्कुलका पिन्सिपल थानेश्वर ढकाल भन्छन् ‘श्रीयम पढाइमा अत्यन्तै लगनशील, मेहनती र इमान्दार विद्यार्थी थिए, उसका साथीहरु र शिक्षक शिक्षिकाका प्रिय थिए श्रीयम ।’ श्रीयमले त्यस विद्यालयमा दुई वर्ष मात्र अध्ययन गरेका थिए । जेनजी आन्दोलनमा उनी सहिद भएपछि उनको सम्झनामा विद्यालयले केही स्मरणीय कार्य गर्ने योजना बनाएको प्रिन्सिपल ढकालले बताँउछन् ।

सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको गरिसकेको छ । गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेकामध्ये ४५ जनालाई गृह मन्त्रालयको प्रस्तावमा सहिद घोषणा गरिएको हो ।

राष्ट्रपतिलाई २३ जेनजी समूहको ज्ञापन : माग पूरा नभएर सरकार फिर्ता

काठमाडौं । देशभरका २३ वटा जेनजी समूहहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै सरकारको कडा आलोचना गरेका छन् । ज्ञापनपत्रमा प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्ने संविधान संशोधनसहित तत्काल गर्नुपर्ने पाँच बुँदे राखिएको छ। जेनजी समूहका प्रतिनिधिहरूले वर्तमान सरकारलाई ‘दिशाहीन’ र विद्रोहका मूल उद्देश्यभन्दा भड्किएको सरकारको रूपमा चित्रण गरेका छन् । ज्ञापनपत्रमा भनिएको छ, ‘यो विद्रोह र शहादत केवल ‘अर्ली इलेक्सन’ का लागि मात्र थिएन । विद्रोहमा संलग्न जेनजीका २३ एलाइन्स, घाइते र शहीद परिवारका माग तत्काल सम्बोधन हुनुपर्छ ।’

उनीहरूले सरकारले माग पूरा नगरेमा राष्ट्रपतिले वर्तमान सरकारलाई फिर्ता बोलाएर नयाँ सरकार गठनमा मध्यस्थता गर्नुपर्ने बताएका छन् । नभए विद्रोही पक्षले शान्तिपूर्ण तर दवावपूर्ण आन्दोलन अघि बढाउने तयारीमा रहेको उनीहरुले चेतावनी दिएका छन् । ज्ञापनपत्र बुझाउने समूहमा जेनजी नेसनल फ्रन्ट लाइनर, जेनजीसी स्पार्क, एन टेक जेनजी, जेनजी वाइ युनाइटेड, रियल जेनजी लगायतका समूहहरू सहभागी छन् । ज्ञापनपत्रमा मुलुकमा भएका ठूला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारवाही गर्नुपर्ने, जेनजी आन्दोलनमा नरसंहार गर्ने दोषीलाई दण्ड हुनुपर्ने, जेनजी घाइतेको उपचारको सुनिश्चितता हुनुपर्ने, जेनजी शहीद परिवारको उचित क्षतिपूर्ति र भरणपोषण हुनुपर्ने माग राखेका छन् ।

 

 

 

 

जेनजी प्रदर्शनका क्रममा आगजनी गर्नेलाई मुद्दा दर्ता

लुम्बिनी ।  जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार कैदीहरु रुपन्देहीमा पक्राउ परेका छन् । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा कारागार कार्यालयमा भएको तोडफोड, आगजनीपश्चात् फरार कैदीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहतसमेतबाट फरार कैदीलाई नियन्त्रणमा लिई जिल्ला कारागार कार्यालय रुपन्देहीमा बुझाइएको छ ।
कपिलवस्तु कारागारबाट फरार बैंकिङ कसूर मुद्दाका ४४ वर्षीय तुलबहादुर पुनलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटेको टोलीले मङ्सिर १ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन् ।
त्यस्तै इलाका प्रहरी कार्यालय मङ्गलापुरबाट खटिएको टोलीले नवलपरासी कारागारबाट फरार जबरर्जस्ती करणी मुद्दाका रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने ५० वर्षीय रुद्रबहादुर पुनलाई मङ्सिर २ गते पक्राउ गरेको हो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले तनहुँ कारागारबाट फरार लागुऔषध मुद्दाका भारतको जिल्ला महाराजगञ्ज थाना नौतनवा बस्ने २० वर्षीय दीपक कुमारलाई बुधबार पक्राउ गरेको छ । कुमारलाई सिद्धार्थनगर नगरपालिका–१३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी, तोडफोड र चोरीमा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलले भदौ २४ गते बुटवलका विभिन्न सरकारी तथा व्यावसायिक प्रतिष्ठान तथा प्रहरीका हतियार तथा समान लुटपाट गर्ने, आगजनी र तोडफोड गर्ने ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाले जानकारी दिएका छन् । यसरी पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय मङ्गलापुरमा आगजनी र तोडफोड गर्ने, प्रहरी कार्यालयबाट हतकडी चोरी गर्ने तथा ड्रिमल्याण्ड होटेलमा आगजनी, तोडफोड र चोरीमा सङ्लग्न रहेकाहरू छन् ।
प्रहरी उपरीक्षक रानाका अनुसार प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्नेमा तिलोत्तमा नगरपालिका–९ का ३२ वर्षको मुर आलम मुसलमान, ३६ वर्षको सुरज भण्डारी, २७ वर्षको कुमार उप्रेती र तिलोत्तमा ७ को १९ वर्षको विनोद सुनुवार रहेका छन् ।
त्यस्तै प्रहरी कार्यालय मङ्गलापुरबाट हतकडी चोरी गर्ने बुटवल उपमहानगरपालिका–११ का २९ वर्षीय विवेक शाहीलाई पनि प्रहरीले पक्राउ गरेको छ । शाहीले प्रहरी कार्यालयबाट हतकडी चोरी फरार रहेका थिए । उनलाई आफ्नै कोठाबाट हतकडीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाले बताएका छन् ।
त्यस्तै ड्रिमल्याण्ड होटेलमा आगजनी, तोडफोड र चोरीमा संलग्न बुटवल उपमहानगरपालिका–४ को ३८ वर्षीय अनिल थापा पनि पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई चोरी र आपाराधिक उपद्रता मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिएका छन् ।

जेनजी आन्दोलनपछि पहिलो पटक च्यासलमा एमाले सचिवालय बैठक : यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ। भदौ २३–२४ को जेनजी आन्दोलनको क्रममा आगजनी गरिएको पार्टी मुख्यालय आवश्यक मर्मत–सम्भारपछि आज पहिलो पटक च्यासलमै बैठक राखिएको हो । आजको बैठक आसन्न मंसिर २७–२९ को महाधिवेशनमा केन्द्रित हुनेछ । भावी नेतृत्वलाई लिएर पनि आज केही पदाधिकारीले कुरा उठाउने तयारी गरेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो दाबीसहित सर्वसम्मत अध्यक्ष बनाउन बैठकमा प्रस्ताव गर्ने तयारी छ ।

महाधिवेशनको व्यवस्थापकीयलगायत विभिन्न उपसमिति गठन गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । त्यस्तै मंसिर ६ गते काठमाडौंमा तय गरिएको जनप्रदर्शन, राष्ट्रियसभा र प्रतिनिधिसभा चुनावका लागि सहभागितालगायतको विषयमा पनि छलफल हुँदैछ ।

नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने तयारी गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको एमालेले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा मंसिर १० गतेसम्म दल दर्ताको विषयबारे पनि अहिलेसम्म केही बोलेको छैन ।

केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यो बैठकले महाधिवेशन सम्बन्धी निर्णयहरू गर्नेछ । ‘महाधिवेशनको तयारी गर्न उपसमितिहरू बनाउनु पर्नेछ, अरू तयारीका निर्णय पनि हुनेछ,’ उनले भने । च्यासल अहिले आंशिक सञ्चालनमा आएको छ । ‘संगठन विभाग र संसदीय दलको बैठक बसिसकेको छ । तर पार्टी सचिवालयको बैठक भने पहिलो पटक बस्न लागेको हो,’ गौतमले भने ।

 

नेकपा एमालेको सचिवालय बैठक च्यासलमा सुरु

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको छ । यो बैठकले मंसिर २७ देखि हुने भनिएको ११ औँ महाधिशेन तयारीबारे आवश्यक निर्णय लिनेछ ।

एमालेमा नयाँ नेतृत्वका लागि कित्ताकाट सुरू भइसकेको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने सम्भावना बलियो छ ।

एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिइरहेको छ। एमालेले प्रतिनिधि सभा फर्काउन आन्दोलन थालिसकेको छ।

एमालेले ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७, २८ र २९ गते काठमाडौँमा गर्न लागेको छ । महाधिवेशनका लागि एमालेले मङ्सिर १३ गते देशभर प्रतिनिधि छान्ने कार्यक्रम छ ।

गलेश्वर मन्दिरको गजुरमा सुनको जलप

म्याग्दी । दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ । गलेश्वर निवासी बमबहादुर पुनले रु चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर (सुनौलो) रङ र गजुरमा सुनको जलप लगाईएको हो ।

गलेश्वर मन्दिर विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार कोषको निर्णय र स्वीकृति लिएर पुनले रङरोगन र जलप लगाएका हुन् । कोषका उपाध्यक्षसमेत रहेका उनले यसअघि व्यक्तिगत लगानीमा गलेश्वर मन्दिरमा रहेको शिवजीको ज्योतिएलिङ्गमा चाँदीको मुकुटले छोपेको थिए।

जलप लगाउन प्रयोग भएको सात ग्राम सुन खरिदमा रु एक लाख ५१ हजार, २७ लिटर सुनौलो रङ खरिद, ढुवानी र ज्यालामा रु दुई लाख ३६ हजार खर्च भएको पुनले जानकारी दिएका छन्। गलेश्वर मन्दिरको छानो पित्तल र गजुर तामाको छ । यसअघि विसं २०७७ मा कोषको रु २७ लाख आन्तरिक आम्दानीबाट र सहयोगदाता रमेश शर्माको रु पाँच लाख ५५ हजार ५५५ मा मन्दिरको छानोलाई पित्तलले छाइएको थियो । शर्माका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २० लाख खर्चेर गलेश्वर मन्दिर निर्माण गरेका थिए ।

रङरोगन र सुनौलो जलप लगाएपछि गलेश्वर मन्दिर चम्किलो र आकर्षक देखिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिरमा शिवालय मन्दिर छ । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएर उत्पत्ति भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा यहाँ मेला लाग्ने गर्दछ भने दैनिक नित्य पूजाआज हुन्छ ।

यस मन्दिरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको कोषका अध्यक्ष रेग्मीले बताएका छन्। उनका अनुसार यस मन्दिरमा दाताले चढाउने भेटी र दाताको सहयोगबाट सङ्कलित रकम पूर्वाधार निर्माण, स्थानीय विकास र सामाजिक क्षेत्रमा परिचालन गरिँदै आइएको छ ।

यस वर्ष बेनी नगरपालिकासँगको साझेदारीमा गलेश्वर बजार सौन्दर्यकरण योजना सञ्चालन र गलेश्वर मन्दिर परिसरमा उज्यालोका लागि १८ मिटर अग्लो तीन हजार २०० वाट क्षमताको ‘हाइमाक्स लाइट’ जडान गर्न लागिएको कोषका सदस्य सचिव सम्मरबहादुर थापाले जानकारी दिएका छन् । उनका अनुसार गलेश्वर बजार क्षेत्रलाई धार्मिक तथा सङ्गितमय बनाउन सात ठाउँमा ‘स्पीकर’ जडान गर्ने तयारी भइरहेको छ ।

चोरिएका सवारी भेटेर फिर्ता गरिदिँदा सवारी धनीले केक काटेर खुवाए ट्राफिकलाई

काठमाडौं। उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीका ५० वटा दुई पांग्रे सवारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

एक समारोहकाबीच ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका दुई पांग्रे सवारी फेला पारेर सम्बन्धित धनीलाई फिर्ता दिएको हो ।

आफ्नो सवारी फिर्ता पाए पछि सवारी धनीहरूले केक काटेर ट्राफिकलाई धन्यवाद दिएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

ओलीले सर्वोच्चलाई के दिए लिखित जबाफ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा दायर रिटमा लिखित जबाफ दिएका छन् । यो रिट युवराज सफल, मकबुल मिया र शेरबहादुर रोकायुले दायर गरेका थिए, जसमा ओलीलाई पनि विपक्षी बनाइएको थियो । ओलीका तर्फबाट तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले अदालतमा जबाफ पेश गरेका थिए । जबाफमा ओलीले भदौ २४ को घटनालाई ‘अराजक र असामान्य अवस्था’ भएको भन्दै त्यसबाट लाभ उठाउने व्यक्तिहरू नै यसको ‘सिर्जनाकर्ता’ भएको बताएका छन् ।

ओलीले भनेका छन्, ‘नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित छ । अराजक अवस्थाको सिर्जना गराई सुशीला कार्की र उनका मन्त्रीहरूले राज्यसत्ता कब्जा गर्ने प्रयास गरेका छन् । मैले नयाँ सरकार गठन गर्ने उद्देश्यले राजीनामा दिएको हुँ ।’
उनले थपेका छन्, ‘संविधानको धारा ७६ अनुसार सरकार गठन नगरी सुशीला कार्कीलाई नियुक्त गर्नु संवैधानिक उल्लङ्घन हो ।’ ओलीले अदालतलाई स्पष्ट पारेका छन् कि उनले कुनै पनि सिफारिस वा अनुमति दिएर कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको होइन ।

अर्कोतर्फ, ओलीले संविधानको धारा १३२ (२) को हवाला दिँदै प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीशलाई अन्य सरकारी पदमा नियुक्त गर्न नहुने व्यवस्था उल्लङ्घन भएको बताएका छन् । यसै कारण, प्रधानमन्त्री कार्कीको नेतृत्वमा प्रतिनिधिसभा विघटन पनि संविधानविपरीत भएको उनले जबाफमा उल्लेख गरेका छन् ।

ओलीले यस घटनालाई अवैधानिक ठहर गर्दै भनेका छन्, ‘सरकार गठन नै गैरसंवैधानिक भएकाले यसले गरेका काम स्वतः खारेज हुनेछन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन संविधानविपरीत छ । यस निर्णयलाई बदर गरी प्रतिनिधिसभाको पुनःस्थापना गर्नुपर्छ ।’ नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा आफ्नो धारणा सार्वजनिक गरिसकेको ओलीको जबाफमा उल्लेख गरिएको छ ।

अनलाइन ठगीबाट जोगिन प्रहरीद्वारा सात बुँदे अनुरोध

काठमाडौँ । पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो ।

परिसरका प्रवक्ता पवनकुमार भट्टराईले नागरिक प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका दैनिकजसो घटना आइरहेकाले सचेतनाका लागि सूचना जारी गरिएको बताएका छन् । उनका अनुसार सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाटस्एप, भाइबर, इन्स्ट्राग्रामलगायत माध्यामबाट ‘तपाईंलाई चिठ्ठा परेको छ, उक्त रकम प्राप्त गर्न केही रकम(राजस्व) तिर्नुपर्छ’ भनी रकम पठाउन लगाउँदै ठगी गर्नसक्ने भएकाले त्यसतर्फ सचेत हुन अनुरोध गरिएको छ ।

सार्वजनिक सूचनामा अनलाइनबाट सामान खरिद गरी रकम भुक्तानी तिर्दा आधिकारिक बिक्रेता यकीन गरी मात्र तिर्न र नगद दिँदा पनि सुरक्षित हुन अनुरोध गरिएको छ । प्रवक्ता भट्टराईले भन्नुभयो, “अपरिचित व्यक्ति वा नम्बरबाट श्रव्यदृश्य सन्देश (भिडियोकल) गरी उक्त कल रेकर्ड गरेर भिडियोलाई अश्लिल बनाएर ‘ब्ल्याकमेल’ गर्ने र पैसा माग्ने जोखिम बढेकाले, त्यसतर्फ पनि सावधान हुनुस् ।”

उनका अनुसार आफ्ना साथीभाइहरू तथा आफन्तले विभिन्न सामाजिक सञ्जालबाट समस्या देखाइ आर्थिक सहयोग मागेमा प्रत्यक्ष सम्पर्क गरी यकीन गरेर मात्रै सहयोग गर्न अनुरोध गरिएको छ । उक्त समयमा खाता ‘ह्याक’ हुनसक्ने भएकाले सचेत हुनुपर्ने जरुरी रहेको उनले बताए ।

सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्याममा सस्तो दरमा सामान देखाएर अग्रिम ९एड्भान्स० रकम पठाउन लगाई ठगी हुनसक्ने भएकाले पनि त्यसतर्फ ख्याल गर्न सूचनामार्फत अनुरोध गरिएको छ ।

त्यस्तै अपरिचित वा नयाँ सामाजिक सञ्जालका कुनै पनि ‘लिङ्क’ नखोल्न अनुरोध गर्दै प्रहरीले आफ्नो ‘ओटिपी कोड’ अरुलाई नदिन, आफ्नो मोबाइलको ‘स्क्रिन’ कसैलाई नदिन, सामाजिक सञ्जालमा आफ्ना महत्त्वपूर्ण जानकारी नराख्न, आफ्नो ‘पासवर्ड’लगायत नीजि विवरण साथीभाइ वा नजिकैका आफन्तलाई पनि नदिन अनुरोध गरेको छ ।

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । बसको ठक्करबाट काभ्रेपलाञ्चोकको पाँचखालमा एक पैदलयात्रीको मत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडकछेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले बिहान ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख ६५७९ नम्बरको बसले पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो । स्थानीय राजन कार्कीका अनुसार बिहान ८ बजे बसेले ठक्कर दिएपछि गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा १२ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार सोही दिशाबाट अर्को बससँग ‘कम्पिटिसन’ गर्दै आएको उक्त बसले सडक छेउमा हिँडिरहेका श्रेष्ठलाई ठक्कर दिएर १० मिटर पर उछिट्याएको थियो ।

यसैबीच, उपचारका क्रममा श्रेष्ठको मृत्यु भएपछि उनका आफन्तले चालकलाई कारबाही तथा क्षतिपूर्तिको माग गर्दै अरनिको राजमार्ग अवरुद्ध गरेका छन् । घटनापछि चालक फरार भएपछि ठक्कर दिने बसलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ, भने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । नगर प्रमुख महेश खरेलले पीडितलाई क्षतिपूर्ति तथा अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको बताए ।

सिमरामा जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप, फेरि लाग्यो कर्फ्यू

बारा । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपले अशान्त बाराको सिमरा बजार आज पनि तनावग्रस्त बनेको छ । आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ नपरेको भन्दै जेनजी युवाले सिमरा बजार क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । बजार क्षेत्रमा ठूलो संख्यामा युवाको उपस्थिति रहेको छ ।

सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । झडपमा परी दुवैतर्फका केही घाइते भएका छन् । झडपका क्रममा युवाहरूले प्रहरीमाथि ढुंगाइँट्टा प्रहार गरेपछि प्रहरी पछि हटेको छ । ‘जेनजीको हिजोको प्रदर्शनको नेतृत्व गरेकाहरूसँगको समझदारीअनुसार हामीले दुई जनालाई पक्राउ गरिसकेका छौं । तर, आज पनि प्रदर्शन नरोकिएपछि हामीले सडक खुलाउन खोज्दा झडप भएको छ,’ इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीले भने, ‘हामीमाथि चारैतर्फबाट आक्रमण भएपछि अहिले हामी पछि हटेका छौं । सडकमा प्रदर्शनकारी जम्मा भएर नारावाजी गरिरहेका छन् ।’

हिजोको घटनामा जेनजी युवालाई कुटपिट गर्नेहरूलाई प्रहरीले कारबाही नगरेको भन्दै आज प्रदर्शन गरेको जेनजी प्रदर्शनकारीको भनाइ छ । प्रहरीले भने कुटपिटमा संलग्न दुईजनालाई पक्राउ गरेर अदालतबाट म्याद थपको प्रक्रिया अगाडि बढाइसकेको बताएको छ ।प्रदर्शनकारीले भने पक्राउ परेकालाई सिमरा चोकमा ल्याउनु पर्ने माग गर्दै नारावाजी गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।

हेर्नुस् कर्फ्यू आदेश

 

सिमरा आज पनि ‘अशान्त’ : जेनजी युवाको विरोध, एमालेका दुई वडाध्यक्ष पक्राउ

बारा । बाराको सिमरा क्षेत्रमा नेकपा एमाले र जेनजी युवाबीच उत्पन्न विवाद निरन्तर चर्किदै गएको छ । बुधबार दिनभर तनावग्रस्त सिमरा बिहीबार पनि अशान्त बनेको छ । घटनाक्रमले जिल्ला प्रशासन कार्यालय बारालाई बुधबारै कफ्र्यू आदेश जारी गर्न बाध्य बनाएको थियो, तर राततिर स्थिति केही शान्त बनेपछि बिहीबार विहान फेरि आन्दोलन सुरु भएको हो ।

बिहीबार बिहान १० बजेदेखि जेनजी युवाहरूले सिमरा चोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ताहरूलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । प्रदर्शनका कारण सिमरा क्षेत्रमा यातायात आवागमन ठप्प परेको छ ।
जेनजी युवामाथि कुटपिट भएको आरोपमा प्रहरीले जितपुर–सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का वडाध्यक्ष कैमोदिन अन्सारीलाई पक्राउ गरेको छ । दुबै जना एमालेबाट निर्वाचित प्रतिनिधि हुन् । जेनजीका अगुवा सम्राट उपाध्यायले श्रेष्ठ, अन्सारीसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर बाँकी चार जना पक्राउ नपरेको गुनासो गर्दै युवाहरूले पुनः प्रदर्शन गरेका हुन् ।

एमालेले बुधबार बाराको परवानीपुरमा मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गर्दैं थियो । त्यसको पूर्वसन्ध्यामा जेनजी अगुवा उपाध्यायले सामाजिक सञ्जालमार्फत् ‘एमालेको कार्यक्रम असफल पार्नेगरी शान्तिपूर्ण विरोध’ को घोषणा गरेका थिए । यही घोषणालाई लिएर बुधबार बिहान सिमरा चोकमा एमाले कार्यकर्ताले उपाध्यायमाथि हातपात गरेपछि अवस्था एकाएक तनावपूर्ण बनेको थियो । उपाध्यायमाथि भएको हातपातपछि आक्रोशित जेनजी युवाहरू एमाले नेताहरूलाई पछ्याउँदै सिमरा विमानस्थलसम्म पुगे ।

भीडले विमानस्थलको मुख्य गेट ढालिदियो र भित्र प्रवेश गरी ढुंगामुडा तथा सिसाका बोतल प्रहार गर्दै नाराबाजी गरे । स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गर्दै भीड तितर–बितर पारेको थियो । दोस्रो दिन पनि प्रदर्शन जारी रहेकाले सिमरा क्षेत्र संवेदनशील बनेको छ । प्रहरीको बाक्लो उपस्थिति रहे पनि जेनजी युवकहरू आक्रमणकारीहरूको पूर्ण गिरफ्तारी नहुँदासम्म आन्दोलन जारी रहने बताइरहेका छन् ।

 

उपमेयर सुनिता डंगोलले गरिन् जुद्ध वारुण यन्त्रको निरीक्षण (तस्बिरहरु)

काठमाडौँ । काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले काठमाडौंको न्युरोडमा रहेको जुद्ध वारुण यन्त्र भवन निर्माण कार्यको निरीक्षण गरेकी छन् । उक्त भवन काठमाडौं महानगरपालिकाले मर्मत गरिरहेको छ।

राणाकालिन प्रधानमन्त्री जुद्धशमशेर जबराका पालामा बनेको उक्त भवन जीर्ण हुँदै गएको र जुनसुकै अवस्थामा भत्किन सक्ने खतरा देखिएकोले त्यसलाई मर्मत गरिएको हो ।कार्यालयमा ३४ जना कर्मचारी छन् र यीमध्ये केही कर्मचारी अहिले पनि नियमित रुपमा सोही भवनको माथिल्लो तलामा बस्दै आएका छन्।

दुई रोपनी तीन आना भूभाग चर्चेको दुई तले भवनको तल्लो तलामा दुईवटा सटरमा १९९२ सालमा बेलायतबाट लिएर आएको मोसीज कम्पनीको पुरानो मोडलको दुईवटा दमकल राखिएको छ ।

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको आज (बिहीबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ । आजै पाटन उच्च अदालतमा पनि लामिछाने–सम्बद्ध अर्को मुद्दा सूचीकरण भएकाले बुटवल उच्च इजलासमा उपस्थित हुन नसक्ने भन्दै रविका कानुन व्यवसायीहरूले स्थगित गर्न माग गरेका थिए । अदालतले सोही माग अनुसार पेसी सारिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

यसअघि कात्तिक २७ गतेको सुनुवाइमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सुप्रिम सहकारी ठगीसम्बन्धी मुल अभियोग मिसिल सर्वोच्च अदालतबाट मागिएको थियो । सो मिसिल प्राप्त भएपछि बिहीबारका लागि पेसी तोकिएको हो ।
कात्तिक २० गते पनि यही इजलासले सुरु मिसिल झिकाउन आदेश दिएको थियो । सर्वोच्चबाट सुरु मिसिल अझै नआए पनि जिल्ला अदालतबाट प्रतिलिपि आएपछि यसपटक मुद्दा सूचीकरण गरिएको थियो । अदालतले लामिछानेको निवेदनलाई प्राथमिकतामा राखेर अघि बढाइरहेको सूचना अधिकारी कुँवरले बताए ।

यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालसमेत रहेको इजलासले लामिछाने र जोशी दुवैको मुद्दा समान प्रकृतिको भएकाले एकैसाथ हेर्न आदेश गरेको थियो । लामिछानेले बिगोबमोजिम रकम बुझाई थुना बाहिर बसेर मुद्दा लड्ने अवसर दिन मागेपछि उच्च अदालतले जोशीको फाइल पनि एकै पटक पेश गर्न भनेको थियो ।

सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनबापत आफ्नो हिस्साको बिगो (२ करोड ७४ लाख ८४ हजार रुपैयाँ) बैंक जमानतका रूपमा बुझाइसकिएको दाबी गर्दै भदौ ९ गते उच्च अदालत बुटवलमा निवेदन दर्ता गरेका थिए । तर, जिल्ला अदालत रुपन्देहीले साउन २६ गते उनको निवेदन खारेज गर्दै रिहा नदे निर्णय सुनाएको थियो ।

अभियोगपत्रअनुसार रविसहितका प्रतिवादीहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ । लामिछाने र जोशी दुवैले समान रकमबापत जमानत पेश गरे पनि प्रतिवादीको व्यक्तिगत बिगो कति भन्ने सुनिश्चित नभएसम्म रिहा दिन नपाइने निर्णय दुवैका हकमाझै जारी छ । हाल लामिछाने ललितपुरको नख्खु कारागारमा छन्, भने जोशी भैरहवा कारागारमा थुनामा रहेका छन् ।

 

सिमरा फेरि अशान्त, विरोध प्रदर्शन गर्दै सडकमा युवा (तस्बिरहरू)

काठमाडौं। नेकपा एमालेका कार्यकर्ता र जेन-जी समूहका युवाबीच बुधबार भएको झडपका कारण बारा सिमरा अशान्त बनेको छ ।

आज बिहीबार पनि विरोध प्रदर्शनी गर्दै युवाहरू सडकमा निस्किएका छन् । प्रहरी प्रशासन र युवाहरूबीच बुधबार बेलुका भएको सहमति पश्चात् सडक सञ्चालनमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बन्दै गएको छ ।

तस्बिर : श्याम यादव/ नेपाल फोटो लाइब्रेरी 

रास्वपामा निर्वाचन तयारी तीव्र : उम्मेदवार छनोटदेखि संगठन विस्तारसम्म गर्‍यो १० निर्णय

काठमाडौं । आगामी फागुन २१ गते निर्धारण भएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्ष्य बनाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्तरिक तयारी र रणनीतिगत प्रक्रियालाई तीव्र बनाएको छ । मंगलबार र बुधबार बसेका केन्द्रीय समिति बैठकहरूलगायतका निर्णयहरू एकसाथ सार्वजनिक गर्दै रास्वपाले उम्मेदवार छनोट, संगठन विस्तार, संवाद प्रक्रिया तथा अध्ययन–अनुसन्धानसँग सम्बन्धित जिम्मेवारीहरू व्यापक रूपमा पुनः संयोजन गरेको छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा सफलतापूर्वक तयार पारेको मूल्यांकन गर्दै सह–महामन्त्री विपिनकुमार आचार्यलाई उम्मेदवार छनोट समितिको संयोजक तोकिएको छ । आचार्य संयोजक रहेको समितिमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य डा. चन्दा कार्की, राजन गौतम तथा सबै प्रदेश सभापति पदेन सदस्य रहने छन् । रूपन्देही–३ का लागि भने पहिल्यै चयन भइसकेका डा. लेखजंग थापा नै उम्मेदवार कायम रहने निर्णय छ ।

मुद्दागत सहकार्य र सांगठनिक समन्वयलाई अघि बढाउन उपसभापति डा. स्वर्णिम वाग्ले संयोजकत्वमा रहेको उच्च संवाद समितिले अब अझ सघन रूपमा विभिन्न दल तथा समूहहरूसँग समन्वय गर्नेछ । रास्वपाले जेन–जी पुस्ताको राजनीतिक सक्रियताबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै परिवर्तनकामी शक्तिसँग सहकार्य गर्ने नीति पुनः दोहोर्‍याएको छ । बैठकमा सभापति रवि लामिछानेमाथि अघिल्लो सरकारले लगाइएका मुद्दाको कानुनी अवस्थाबारे केन्द्रीय समितिलाई जानकारी गराइएको बताइएको छ ।

रास्वपाले विभिन्न कार्यदल र समितिहरू पुनर्गठन तथा विस्तार गरेको छ । संविधान एवं संविधान–सम्बद्ध कानुन परिमार्जन कार्यदल संयोजकमा सोविता गौतम, वाचापत्र कार्यदलमा क्रान्तिशिखा धिताल थपिएका छन् । यस्तै राजनीति अध्ययन कार्यदलमा संयोजक विराजभक्त श्रेष्ठ तथा प्रदेश सभापतिहरू पदेन सदस्य, निर्वाचन रणनीति कार्यदलमा संयोजक मनिष झा, मिडिया अध्ययन कार्यदल संयोजकमा निशा डाँगी रहेका छन् ।

जेन–जी पुस्ताको बढ्दो राजनीतिक सहभागितालाई औपचारिक, वैचारिक र व्यवहारिक तवरले उन्नत बनाउन रास्वपाले ‘युथ नेशन बिल्डिङ एकेडेमी’ सञ्चालन गर्ने भएको छ । यस कार्यक्रममार्फत राजनीतिक संरचना, संसदीय अभ्यास, नेतृत्व विकास र सार्वजनिक अभिव्यक्तिसम्बन्धी आधारभूत तथा उन्नत प्रशिक्षण प्रदान गरिनेछ । कार्यक्रमको संयोजन कानुन तथा मानव अधिकार विभाग प्रमुख सोविता गौतमले गर्नेछिन् ।

रास्वपाले सबै प्रदेश र ७७ जिल्लामा निर्वाचनमुखी विस्तारित बैठक सञ्चालन गर्नेछ । समावेशिताको सिद्धान्तलाई अनिवार्य पालना गर्दै केन्द्रीय समिति बाहेकका सबै रिक्त पद छिटो पूर्ति गर्न निर्देशन दिइएको छ । यसैगरी, जेन–जी समूहका युवासँग प्रदेश तथा जिल्ला तहमा छलफल-संवाद कार्यक्रम सञ्चालन गर्ने, पार्टीको सबै संयन्त्रमा युवा सहभागिता थप बढाउने र संगठनलाई निर्वाचनमुखी बनाउने कार्ययोजना अघि सारिएको छ ।

दुर्गा प्रसाईंको रिहाइ माग गर्दै सर्वोच्चमा छोराले दिए बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडौं । राष्ट्र, राष्ट्रियता र धर्म–संस्कृतिको रक्षा अभियान चलाउँदै आएका संयोजक दुर्गा प्रसाईंलाई सोमबार राति प्रहरीले पक्राउ गरेको घटनाले राजनीतिक वृत्तदेखि प्रशासनिक तहसम्म चासो बढाएको छ । सार्वजनिक शान्तिमाथि आघात पुर्‍याउने व्यवहार देखिएको आरोपसहित पक्राउ परेका प्रसाईंको रिहाइका लागि उनका छोरा निराजन प्रसाईंले मंगलबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका छन् । रिटको प्रारम्भिक सुनुवाइ बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासमा हुने भएको छ ।

प्रसाईंको पछिल्ला गतिविधि र अभिव्यक्तिहरू राजनीतिक रूपले अतिसंवेदनशील हुँदै गएपछि सुरक्षा निकायले उनको वक्तव्यलाई गम्भीर रुपमा लिएको थियो । विशेष गरी सोमबार भक्तपुरमा उनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरीमाथि नयाँबानेश्वरमा भएको कुटपिटलाई ‘उचित’ ठहर्‍याउँदै दिएको अभिव्यक्ति निर्णयात्मक मोड बन्न पुगेको सुरक्षा अधिकारीहरू बताउँछन् ।

सम्मेलनमा प्रसाईंले प्रहरीलाई अपमानजनक शब्दमा प्रस्तुत गर्दै, ‘यिनलाई खोलामा खेदी–खेदी कुटेका हुन् त ! नांगै बनाएर खेदेका थिए नि,’ भनेका अभिव्यक्तिले सुरक्षा संयन्त्रमा व्यापक असन्तोष पैदा गराएको थियो । उनका भनाइले प्रहरी संगठनको मनोबल गिराउने र हिंसात्मक कार्यलाई समर्थन गर्ने आशय प्रस्ट देखिएको अधिकारीहरूको बुझाइ छ ।

प्रसाईं केही दिनयता प्रधानमन्त्री सुशील कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायत उच्च पदस्थ व्यक्तिहरूविरुद्ध उत्तेजनात्मक तथा चुनौतीपूर्ण टिप्पणी गर्दै आएका थिए । उनले देश गृहयुद्धतिर धकेलिएको दाबी गर्दै समर्थकहरूलाई रासन–पानी जोगाएर राख्नसम्म निर्देशन दिएका थिए । सामाजिक सञ्जालमा उनका भाषण भाइरल भइरहेका थिए र त्यसले जिल्लाका प्रशासनदेखि केन्द्रसम्म सचेत बनाएको स्रोतले बतायो ।

यिनै घटनाक्रमका बीच आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रसाईंको अभिव्यक्ति र गतिविधिबारे छलफल भएपछि विशेष निगरानीमा राख्ने निर्णय गरिएको थियो । तर सोमबार दिउँसोको पत्रकार सम्मेलनपछि परिस्थितिलाई संवेदनशील ठहर्याउँदै राति नै पक्राउ प्रक्रिया सुरू गर्ने निर्णय भयो । सोमबार राति करिब १० बजे प्रहरीको अपराध अनुसन्धान टोली, भक्तपुरका एसपीको नेतृत्वमा, प्रसाईंको घरमा पुगेको थियो र उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रसाईंलाई यसअघि पनि विभिन्न मुद्दामा तीन पटक पक्राउ गरिसकिएको छ । २०७८ असोज ६ गते साइबर अपराधसम्बन्धी मुद्दामा, मंसिर ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको दाबीपछि र चैत १५ मा तीनकुने घटनामा मुख्य अभियुक्तको रूपमा पक्राउ गरिएको थियो । तीनकुने घटनापछि फरार भएका उनलाई भारतको असमबाट नेपाल ल्याइएको थियो । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए पनि उच्च अदालत पाटनले २५ लाख रुपैयाँ धरौटीमा छाड्ने निर्णय गरेको थियो ।
हाल उनको पक्राउ कानुनी रूपमा वैधानिक हो वा होइन भन्ने विषय सर्वोच्च अदालतको बिहीबार हुने सुनुवाइमा टुंगो लाग्नेछ । राजनीतिक–सामाजिक रूपमा विवादास्पद व्यक्तित्वका रूपमा चिनिने प्रसाईंको मुद्दाले फेरि एक पटक देशको ध्यान न्यायालयतर्फ मोडिएको छ ।

च्छो रोल्पा पदयात्रा: प्रकृति, संस्कृति र हिमाली जीवनशैली नजिकबाट बुझ्ने अवसर

काठमाडौँ । विश्व प्रसिद्ध च्छो रोल्पा पदमार्ग दोलखा जिल्लामा पर्दछ । यो पदमार्गको मुख्य आकर्षण च्छो रोल्पा हिमताल हो । यो हिमताल समुन्द्री सतहबाट ४५०० मिटर उचाईमा अवस्थित रहेको छ । च्छो रोल्पा पदमार्गमा यात्रा गर्नका लागी काठमाडौँबाट छेतछेत गाउँसम्म मोटरमा यात्रा गर्न सकिन्छ ।

त्यहीँबाट पदयात्रा सुरु हुन्छ । यात्रामा उकालो बाटोको यात्रा गर्नुपर्छ । तथापी, यात्राले दिने आनन्द भने एकदमै फरक, रमाइलो र अविस्मरणीय रहनेछ ।

सिमि गाउँ, सुरमुचे, क्याल्चे, दोङवाङ, थामदिङ, बेदिङ र ना गाउँ पदमार्गका बस्तीहरु हुन् । यी गाउँहरू अत्यन्तै सुन्दर छन् । ना गाउँ अन्तिम मानव बस्ती हो । जहाँ पर्याप्त मात्रामा होटल र होमस्टे भेटिन्छन् । त्यहीँबाट च्छो रोल्पा पुग्न सहज हुन्छ ।

यात्रा गर्दा गौरीशंकर हिमाल ऐना झै टल्किरहन्छ । जसले यात्राको सौन्दर्य झनै बढाइदिन्छ । च्छो रोल्पा पदमार्गको अर्को विशेष आकर्षण दुधकुण्ड हो । जुन च्छोरोल्पा ताल भन्दा करिब ३०० मिटर माथी उचाईमा अवस्थित रहेको छ ।

यहाँबाट रोल्वालिङ भ्याली र हिमशृङ्खलाहरू स्पष्टसँग देख्न सकिन्छ । जसको सुन्दरताले सबैलाई मनमोहित बनाउछ । काठमाडौँबाट ६ दिनमा च्छो रोल्पा यात्रा पूरा गर्न सकिन्छ । जहाँबाट अन्य पदमार्गहरुमा समेत थप यात्रा गर्न सकिन्छ ।

च्छोरोल्पा यात्रा केवल हिमताल हेर्ने उद्देश्य मात्र नभइ, प्रकृति, संस्कृति र हिमाली जीवनशैलीलाई नजिकबाट बुझ्ने अद्भुत अवसर पनि हो ।

  

 

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा रु ७०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ३५ ले बढेको छ ।

आज एक तोला सुनको मोल रु दुई लाख ४३ हजार निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १८५ कायम भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

एन्फा गेटमा ‘ए डिभिजन’ क्लबको धर्ना (तस्वीरहरु)

काठमाडौं । शहीद स्मारक लिगका क्लबहरूले आज बिहान सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रदर्शनी गरेका छन् । लिगका सबै प्रतियोगिता समयमै गर्न, ‘ए डिभिजन’ क्लबहरूसंगको सम्झौता कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्न माग गर्दै उनीहरुले विगत केही महिनादेखि प्रदर्शनी गर्दै आएका छन् ।

‘लिगको स्थायित्व र व्यवस्थित होस् भन्ने हाम्रो चाहना हो । तर अहिले के हल्ला चलिरहेको छ भने कहिले राष्ट्रिय लिग गर्ने भन्ने, कहिले शहीद स्मारक ए डिभिजन लिग गर्ने भन्ने छ । तर राष्ट्रिय लिग पनि हुनुपर्छ, ए डिभिजन लिग पनि हुनुपर्छ, बी डिभिजन लिग पनि हुनुपर्छ । एक वर्षभित्र लिगको साइकल पूरा हुनुपर्छ,’ हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने ।

एन्फाले आजै बिहान १० बजेका लागि क्लबहरुलाई छलफलमा बोलाएको छ । तर क्लबहरु भने बिहान ९ बजेदेखि नै धर्नामा बसेका हुन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी गेट अगाडि पुलिसहरु तैनाथ गरिएको छ । क्लबहरूले लिगका सबै प्रतियोगिता समयमै गर्न दबाब दिन, ए डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्न माग गरिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । यसअघि नेपाल फुटबल खेलाडी संघले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स गेटमा धर्ना दिएको थियो । संघले पनि ए डिभिजन लिग तुरुन्त सुरु गर्न माग गर्दै घरेलु फुटबल नियमित गर्नुपर्ने आवाज उठाएको थियो ।
हेर्नुस् तस्वीरहरु

अन्तिम समयमा फेरि सर्‍यो कांग्रेस बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा फेरि सरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (बिहीबार) का लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको जानकारी दिएका छन् । उनले अब बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताए ।

यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक स्थगित गरेर आज (बिहीबार) का लागि बोलाएको थियो । बैठकमा पार्टीको विशेष महाधिवेशन वा नियमित महाधिवेशन भन्नेमा विवाद हुँदै आएको छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन समेत भइसकेको अवस्थामा संस्थापनपक्षका नेताहरू भने चुनावपछि नै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

गत २८ असोजबाट सुरू भएको बैठकमा गत कात्तिक २७ गतेसम्म नेताहरूले धारणा राख्ने क्रम सकिएको थियो । त्यसपछि कात्तिक २९ गते र मंसिर १ गते बस्ने भनिएका बैठक स्थगित गरेर मंसिर ४ गतेका लागि निर्धारण गरिएको थियो । जारी बैठकले १५ औं महाधिवेशन र प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा निर्णय लिने अपेक्षा छ ।

भरतपुर महानगर धाउँदा धाउँदा थकित धुर्मसुले भने–अब फर्किन्नँ

काठमाडौं । समाजसेवा र हास्यव्यङ्ग्यको माध्यमबाट घर–घरमा पुगेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजनाबाट पूर्ण रूपमा अलग हुने घोषणा गरेका छन् । पाँच वर्षको प्रतीक्षा र निरन्तर असहयोगका कारण आफू मानसिक र भावनात्मक रूपमा थकित बनेको भन्दै उनले भरतपुर महानगरपालिकामाथि गम्भीर आरोप समेत लगाएका छन् ।

धुर्मुसले अनुसार महानगरपालिकासँग ठोस सम्झौता हुँदाहुँदै पनि निर्धारित रकम भुक्तानी नदिइकन पटक–पटक कागजपत्रका बहानामा आफूलाई झुलाइँदै आएको गुनासो गरे । ‘धेरै सहें, सहनशीलताको पनि सीमा हुन्छ’,’ धुर्मुसले भावुक हुँदै भने, ‘भरतपुरवासीसँग कहिल्यै गुनासो छैन । तर, महानगर कार्यालयबाट आजको दिनसम्म कुनै ठोस पहलकदमी आएन । यहाँ म आज अन्तिम पटक आएको हुँ, अब म फर्किंदिनँ ।’

सरकारी प्रतिवेदनका अनुसार धुर्मुस–सुन्तली फाउन्डेसनले थालेको यस महत्वाकांक्षी परियोजनामा अझै करिब १८ करोड रुपैयाँ बराबरको दायित्व बाँकी छ । सरकारबाट १५ करोड रुपैयाँ भरतपुर महानगरमार्फत उपलब्ध गराइने घोषणा भए पनि त्यो रकम प्रक्रियागत अपूरोपनाको नाममा रोकिएको धुर्मुसको आरोप छ । परियोजनामा डुब्दै जाँदा धुर्मुस मानसिक तनावमा परेको उनका नजिकका मानिसहरुले बताउँदै आएका छन् ।

आर्थिक बोझ, प्रशासनिक अड्चन र निरन्तर दौडधूपका कारण उनी शारीरिक र मानसिकरूपमा कमजोर बनेका देखिन्छन् । यता, धुर्मुसको परिवार पनि चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । उनकी एक मात्र छोरी दीर्घरोगसँग जुधिरहेकी छन् । उनकी पत्नी तथा कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ ले भनिन्, ‘मैले उनलाई धेरै वर्षदेखि सम्हालेर ल्याइरहेकी छु । अब उनलाई उठाउने जिम्मा जनताको हो ।’ धुर्मुसको घोषणासँगै रंगशाला निर्माणको भविष्य पुनः अनिश्चित बनेको छ भने भरतपुर महानगर र फाउन्डेसनबीचको विवाद पनि नयाँ मोडतर्फ उन्मुख भएको छ ।

 

एमालेका दुई पूर्व मेयरसहित तीन जना पार्टीबाट निष्काशित

विराटनगर । आन्तरिक विवाद र अनुशासनहीनताका घटनाहरू बढ्दै गएको भन्दै नेकपा एमाले कोशी प्रदेश कमिटीले कडा कदम चालेको छ । कमिटीको पछिल्लो बैठकले दुई जना पूर्व मेयरसहित तीन जनालाई साधारण सदस्यता समेत खारेज गर्दै पार्टीबाट पूर्ण रूपले निष्काशन गरेको छ । साथै दुई जनालाई स्पष्टीकरण मागिएको छ ।

प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीका अनुसार निष्काशनको सूचीमा परेका तीन जना नेतामा इटहरी उपमहानगरका पूर्व मेयर द्वारिकालाल चौधरी, झापाको बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुव शिवाकोटी, र मनोरथ तिवारी रहेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाका मेयर बनेका चौधरी २०७९ मा पुनः उम्मेदवारी चाहन्थे । टिकट नपाएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेर प्रदेश सभा सदस्यका लागि उम्मेदवार बने, तर एमालेका रेवतीरमण भण्डारीसँग पराजित भए । पराजयपछि पुनः एमाले फर्किए पनि सक्रिय भूमिकामा देखिन सकेनन् । स्थानीय नेताहरूमाथि निरन्तर सार्वजनिक आलोचना गर्दै आएका भन्दै उनलाई पार्टीले अनुशासनहीनतामा कारबाही गरेको हो ।

बिर्तामोडका पूर्व मेयर ध्रुव शिवाकोटीमाथि आफ्नै घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोप रहेकाले उनी केही समय प्रहरी हिरासतमा बसेका थिए । पछि धरौटीमा रिहा भएका उनी हाल पनि अदालती प्रक्रियामा छन् । यस प्रकरणमा उनी अस्पताल बसेर ‘पार्टीले संरक्षण दिएको’ आरोप समेत सार्वजनिक रूपमा उठ्ने गरेका थिए । पार्टीले यिनै विवादका आधारमा शिवाकोटीलाई साधारण सदस्यबाटै हटाएको सचिव भण्डारीले बताए ।

प्रदेश कमिटीका अनुसार भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्नता प्रमाणित भएकाले मनोरथ तिवारीमाथि कारबाही गरिएको हो । ‘व्यक्तिगत तथा सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि पार्टीको मूलभूत सिद्धान्त विपरीत छ’, सचिव भण्डारीले भने, ‘यस्ता व्यक्तिलाई पार्टीमा स्थान छैन भन्ने सन्देश दिन कारबाही अनिवार्य बन्यो ।’ यसैबीच, कमिटीले इटहरीका काशीनाथ दङ्गाल र डा. बद्री विशाल पोख्रेलसँग स्पष्टीकरण पेश गर्न माग गरेको छ । दङ्गाल यसअघि नेकपा एकताकालमा एमाले इटहरी नगर कमिटीका सचिव समेत थिए ।

गृहमन्त्रीलाई सुधनको चेतावनी : मौनतालाई कमजोरी नठान्नू, जनआन्दोलनको ज्वालामुखी उठ्दैछ

काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक तथा युवा अभियन्ता सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति कडा असन्तोष व्यक्त गर्दै आफ्नो मौनतालाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिएका छन् । मध्यरातमा सामाजिक सञ्जालमार्फत ‘द काउन्सिल अफ जेन–जी’ को ब्यानरमा सार्वजनिक अभिव्यक्तिमा गुरुङले सिमरामा घटेको ताजा घटनालाई गृहमन्त्रीको कमजोर नेतृत्वको परिणाम भएको दाबी गरेका छन् ।

गुरुङका अनुसार जेन–जीले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा एमाले निकट समूहका व्यक्तिहरू प्रवेश गरी दुव्र्यवहार र कुटपिट गरेका थिए । घटनापछि गृहमन्त्री मौन बसेको आरोप गर्दै उनले सरकारको भूमिकाप्रति चिन्ता व्यक्त गरेका छन् । गुरुङले गृहमन्त्री अर्याल ‘आन्दोलनको म्यान्डेट’ र ‘बलिदानी इतिहास’ बिर्सिएको टिप्पणी गर्दै, यदि उनले राजीनामा नदिए भ्रष्टाचार र हिंसामा संलग्न व्यक्तिहरूलाई नियन्त्रण गर्न असफल भएको ठहरिने बताए । उनले आफूमाथि र आफ्नो समूहमाथि हुने दमनलाई विरोध गर्न ‘मलाई पनि पक्राउ गर’ नामक राष्ट्रिय अभियान सुरू गर्ने चेतावनी पनि दिए ।

उनले लेखेका छन्, ‘हत्याराहरू खुला रूपमा चुनौती दिइरहँदा सरकारले प्रतिक्रिया नदिनु अत्यन्त खतरनाक संकेत हो । आज देखिएको जनप्रतिक्रिया त केवल आगामी ज्वालामुखीको अघिल्लो झल्को मात्र हो ।’ उनले जनआन्दोलन जस्ता शक्तिशाली प्रतिवादहरू उठ्न सक्ने संकेत गर्दै आफ्ना समर्थकहरूलाई नआतिन आग्रह गरेका छन् । पछिल्ला दिनहरूमा विभिन्न घटनालाई लिएर गृहमन्त्री अर्यालविरुद्ध सामाजिक सञ्जालमा आवाज बढ्दो छ र गुरुङको चेतावनीले राजनीतिक चर्चा थप तातिएको देखिन्छ ।

 

 

 

सिमरा घटनाबारे योगेश भट्टराई : गम्भीर भएर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्छु

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेसमा पार्टीको जनआधार विस्तार र सामाजिक छवि सुधारका लागि नयाँ जिम्मेवारीसहित अघि बढ्नु पर्ने बताएका छन्। आज (बिहीबार) सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै उनले मधेस केन्द्रित भूमिकामा पुनः सक्रिय हुन पार्टी नेतृत्वसमक्ष प्रस्ताव गरेका हुन् ।

भट्टराईले लेखेका छन्, ‘पार्टीको जनआधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ़ गर्न, सामाजिक छवि सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानुपर्छ । यसबारे गम्भीरतापूर्वक विचार गर्न अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।’ सचिव भट्टराईले मधेस प्रदेशमा हालसम्म एमालेले हासिल गरेको राजनीतिक पुनस्र्थापनामा अध्यक्ष केपी शर्मा ओलीको सूक्ष्म व्यवस्थापन र पार्टी नेताहरूको कठोर परिश्रम मुख्य आधार रहेको उल्लेख गरे । उनका अनुसार २०७२ सालमा संविधान जारी भएपछि मधेस एमालेका लागि चुनौतीपूर्ण क्षेत्र बने पनि पछिल्लो समय पार्टीले उल्लेखनीय पुनरुत्थान गरेको छ ।

भट्टराईले स्मरण गरे, ‘संविधानयताका वर्षहरूमा मधेसमा एमालेका नेता–कार्यकर्ता र पार्टी कार्यालयहरू पटक–पटक आक्रमणमा परे पनि संगठन नटुटेको र निरन्तर क्रियाशील रहेकाले आजका उपलब्धि सम्भव भएका हुन् ।’ उनका अनुसार प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट जितेर एमाले पहिलो दल बनेको र प्रदेशसभामा २५ सिटसहित अग्रस्थानमा उभिनु ठूलो उपलब्धि हो ।

झण्डै १५ महिनासम्म मधेस प्रदेश इन्चार्जका रूपमा काम गर्दा संगठन व्यवस्थापन, सदस्यता प्रणाली, प्रदेश–जिल्ला अधिवेशन तथा जनसंगठन सुदृढीकरणमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भट्टराईको दाबी छ । भट्टराईले मधेसका समुदायमा जातीय विभेद, महिला हिंसा, दलितमाथिको भेदभाव र वर्गीय उत्पीडनविरुद्ध एमालेले उठाएको विमर्शले जनभावना जितेको बताए । त्यसको साथै भौतिक पूर्वाधार विकास, आर्थिक अवसर विस्तार र ‘हिमाल–पहाड–तराई–मधेस एकता’ को पक्षमा चलाएको अभियानले मधेसमा पार्टीप्रतिको आकर्षण बढेको उनको भनाइ छ ।

 

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्धको सहकारी ठगी तथा संगठित अपराध अभियोगसम्बन्धी मुद्दामा आज (बिहीबार) उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा पेसी तोकिएको छ ।गत हप्ता न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले मुद्दाको मूल मिसिल झिकाउन आदेश दिएको थियो । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, मिसिल प्राप्त भएसँगै आज पेसी चढाइएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको भनिएको बिगो रकम दाखिल गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालतको सोही आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

यसअघि नै अदालतले लामिछाने र जोशीको मुद्दालाई एकसाथ हेर्ने आदेश दिएको थियो । आज पेसी तोकिएसँगै दुवै पक्षका कानून व्यवसायीहरू बहसका लागि तयारीमा जुटेका छन् । उच्च अदालतको यो सुनुवाइले मुद्दाको भविष्य निर्धारण गर्ने भएकाले सबैको ध्यान यसमा केन्द्रित छ । आजको सुनुवाइले लामिछानेको राजनीतिक भविष्य र न्यायिक प्रक्रियामा कस्तो प्रभाव पार्छ, त्यो हेर्न बाँकी नै छ ।

मन्त्री घिसिङले गरे कान्ति लोकपथ निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार कान्ति लोकपथको स्थलगत निरीक्षण गरेका छन् । गत वर्षको असोजमा आएको बाढी पहिरोले विभिन्न ठाउँमा क्षति पुर्‍याएको सडकको पुनर्निर्माणको जानकारी लिएका हुन् । कान्ति लोकपथका विभिन्न खण्ड यात्राका लागि असहज हुँदा पटक–पटक समस्या भोग्नु पर्दै आएको छ ।