`

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन

काठमाडाैं। त्रिभूवन आर्मी क्लवका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपाने चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा च्याम्पियन भएका छन् ।

लुम्बिनी मन्दिरको प्राङ्गणमा शनिवकार भएको पुरुष म्याराथन (४२.१९५ किलोमिटर) मा विनोद र महिला हाफ म्याराथनमा पूर्णलक्ष्मी च्याम्पियन भएका हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा भएको प्रतियोगितामा विनोदले दुई घण्टा १७ मिनेट ५५ सेकेण्ड समय निकाल्दै पहिलो भए । हाफ म्याराथन (२१ किलोमिटर) महिलातर्फ पूर्णलक्ष्मीले एक घण्टा १७ मिनेट १० सेकेन्ड मा दूरी पूरा गर्दै उपाधि जितिन् । उनले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण विजेता सन्तोषी श्रेष्ठलाई हराउँदै च्याम्पियन भएकी हुन् । ४२ किलोमिटर म्याराथनमा आर्मीकै खेलाडीले वर्चश्व जमाए ।

आर्मीका सुशीलकुमार शाही र नरेन्द्रसिंह राउत क्रमशः दोस्रो र तेस्रो भए । सुशीलकुमार दुई घण्टा १८ मिनेट १६ सेकेण्ड र नरेन्द्रसिंहले दुई घन्टा १९ मिनेट ५८ सेकेण्ड समय निकाले । चिनका वाङ ची (२.२१ः०५ सकेण्ड) चौथो, केन्याका जुलियस वाकोमे (२.२३.०० सकेण्ड) पाँचौँ, दलबहादुर कुुँवर (२.२४.०७ सकेण्ड) छैटौं, इशाह नुन्गु (२.२५ः४२ सकेण्ड) सातौं, कुलबहादुर बस्नेत (२ः२८.१७ सकेण्ड) आठौं, हरि रिमाल (२.२९ः२० सकेण्ड) नवौं र कर्णबहादुर रोकामगर (२ः३४.२० सकेण्ड) दशौं स्थानमा रहे ।

हाफ म्याराथन महिलामा सन्तोषी श्रेष्ठ एक घण्टा १८ मिनेट ४० सेकेण्डसहित दोस्रो स्थानमा नै सिमित भइन् । उनी यसअघि दोस्रो र तेस्रो संस्करणको च्याम्पियन हुन् । निशा शर्की एक घन्टा १९ मिनेट १९ सेकेन्डका साथ तेस्रो भइन् ।
महिलातर्फ सुनसरी रोकाया एक घण्टा २१ मिनेट ४६ सेकेण्डसहित चौथो, चीनकी रुवान शेइङ एक घण्टा २२ मिनेट ३८ सेकेण्डसहित पाँचौं तथा कल्पना बुढा एक घण्टा २५ मिनेट ७ सेकेण्डसहित छैटौं स्थानमा रहिन् ।

पुरुष म्याराथनमा विजेता विनोदले तीन लाख ५० हजार, दोस्रो भएका सुशीलले दुई लाख ५० हजार र तेस्रो नरेन्द्रले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाए । हाफ म्याराथनमा शीर्ष १० स्थानमा रहने धावकले क्रमशः एक लाख, ८० हजार, ६० हजार, ४० हजार, २० हजार १० हजार र ५ हजार रुपैयाँ पाए ।

भेट्रान्स पाँच किमी दौडमा धर्म महर्जन पहिलो भए । रामचन्द्र श्रेष्ठ दोस्रो र रेवतबहादुर दाहाल तेस्रो भए । पुरुष पाँच किलोमिटर खुला दौडमा नेपाल पुलिस क्लबका नागेश्वर अहिर पहिलो, आर्मीका रुपेश कार्की दोस्रो र भारतका प्रिन्स निसाद तेस्रो भए । पाँच  किलोमिटर दौड गल्र्समा दीपशीखा शाही, स्वस्तिका शाही र अन्तिमा बुढा शिर्ष तीन स्थानमा रहे । पाँच  किलोमटर ब्वाइजमा युवराज बुढाले पहिलो, रमेश बुढाले दोस्रो र अरविन्दकुमार यादवले तेस्रो स्थान प्राप्त गरे । म्याराथनकै अवसरमा तीन किलोमिटर वाकाथन पनि आयोजना भयो । पिस म्याराथन नेपाल ओलम्पिक कमिटीको आयोजना तथा चिनिया राजदूतावासको सहयोगमा भएको हो । विजेतालाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ र लुम्बिनी पिस म्याराथनका संयोजक अशोक वज्राचार्यलगायतले नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा भारत, चीन र केन्याका खेलाडीहरूको सहभागिता रहेको थियो । शान्ति र एकताको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त म्याराथनले खेलकुदमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान प्रवद्र्धन गर्ने आयोजकले जनाएको छ ।

मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की

काठमाडाैं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले २१ औँ शताब्दीको आधुनिक समाजमा पनि जाति र रङ्गभेदका कुरा गरिरहनुपर्ने अवस्था दुःखद् रहेको बताएका छन्।  अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मानिसको ‘इनहेरेन्ट डिग्निटी’ (अन्तर्निहित मर्यादा) र आत्मसम्मान नै सबैभन्दा महत्वपूर्ण कुरा भएको उल्लेख गरेका हुन् ।

महानिरीक्षक कार्कीले सुरक्षालाई केवल भौतिक सुरक्षाको रूपमा मात्र नहेरी ‘मानवीय सुरक्षा’ को वृहत रूपमा बुझ्नुपर्नेमा जोड दिए । उनकाअनुसार भ्रुणको रक्षादेखि बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य र सर्वाङ्गीण सुरक्षाको प्रत्याभुति गर्नु राज्यको मूल दायित्व हो । उनले कानूनमा व्यवस्था भएपनि त्यसको व्यावहारिक कार्यान्वयनका लागि व्यक्ति, संस्था र समग्र राज्य संरचना नै जिम्मेवार हुनुपर्ने बताए।

आजको २१ औँ शताब्दीमा २०८२ सालमा, २०२६ मा आएर हामीले फेरि पनि जाति, रङ्गभेदका कुराहरू गरिराख्नुपर्ने अवस्थाको छिट्टै नै यसलाई अन्त्य हुनुपर्छ भन्नेमा सबैको ऐक्यवद्धताका साथै अब दायित्व सिर्जना भएको छ, मानव–मानवको इनहेरेन्ट डिग्निटीको रक्षा गर्नुपर्ने मुलुकको मूल दायित्व हो,’ कार्कीले भने, ‘त्यसमा यसका संरचनामा रहेका सम्पूर्ण निकायहरू मुलुकको संविधानले प्रत्याभूत गरेका कुराहरू, त्यसपछाडि बन्ने कानुनहरूमा पनि प्रत्याभूत हुनुपर्ने कुराहरूलाई समेटेर यो प्रभावकारी परिचालनका कुराहरू छ।’

प्रहरी महानिरीक्षक कार्कीले दलित समुदायको न्यायमा पहुँच सुनिश्चित गर्न राज्यका संरचनाहरूमा रहेका ‘बोटलनेक’ (अवरोध) हरू खुला गर्नुपर्ने बताए। न्यायमा पहुँचको कुरा गर्दा संस्कार, संस्कृति, शिक्षा र व्यवहारगत पक्षहरूमा सुधार ल्याउनुपर्ने उनको तर्क छ । महानिरीक्षक कार्कीले प्रहरी पनि समाजकै संरचनाबाट बनेको हुनाले कानून कार्यान्वयनमा सकारात्मकता ल्याउनु जरुरी रहेको उल्लेख गरे ।

‘केही शिक्षाका कुरा र केही व्यवहारगत कुराहरूमा इन्डिभिजुअल व्यक्तिले गर्नुपर्ने, समूहले गर्नुपर्ने, त्यस्तै विभिन्न सांस्कृतिक रूपमा पनि सोच्नुपर्ने र राज्यले पुनर्संरचना गर्दै गर्दा अब नयाँ बन्ने जुन पार्लियामेन्टबाट त्यसतर्फ पनि ध्यान दिनुपर्ने, खासखास ठाउँमा ध्यान दिनुपर्ने, सम्बोधन गर्ने बोटलनेकहरू खुला गर्नुपर्ने लगायतका कुराहरू छन्, जसमा अब हामीले सम्बोधन होला भन्ने अपेक्षा गर्छौँ र हामीलाई पनि त्यसरी काम गर्ने वातावरण पनि पुलिसको कुरा गर्दाखेरि पुलिस पनि समाजको संरचनाबाट बनेकै हुँदाखेरि त्यहाँनेर सबैले हामीले कानुन कार्यान्वयन गर्ने कुरामा पोजिटिभिटी ल्याउँदाखेरि चाहिँ एकैचोटी सम्बोधन हुनसक्छ’ उनले भने ।

न्यायको पहुँचका लागि नयाँ बन्ने कानून र संसदले पनि विशेष ध्यान दिनुपर्ने उहाँले औँल्याउनु भयो । राज्यका खास–खास ठाउँमा पुगेका व्यक्तित्वहरूले आफ्नो कर्म र व्यवहारबाट समानताको उदाहरण पेश गर्नुपर्नेमा उहाँको जोड थियो । शिक्षाको पाठ्यक्रम निर्माण गर्दा नै नागरिकलाई समानता, न्याय र पहुँचका कुराहरू सिकाउनुपर्ने उहाँको सुझाव छ ।

रात अनिँदो छ !

रात अनिँदो छ !
~
पहेँला आँखा पल्टाएर सूर्य गएपछि
काला आँखा उघारेर आउँछ रात

आउँछ, सिठी बजाउँदै भ्यानमा तैनाथीमा
सटर बन्द हुँदै गरेको बजारसंगै आउँछ रात ।

निभ्दै गरेको सहरको विद्युतीय बत्ती झैँ
झिप्प-झिप्प,गर्दै झाप-झुप झ्याल र ढोकाको चुकुल लगाउँदै आउँछ रात

रात आउँछ,सुनसान हुँदै गरेको सडकको बाटो भएर
थाकेर भुक्न छाडेका भुसिया कुकुरहरूलाई थाहा नदिई

रात आउँछ,बिस्तारै-बिस्तारै
काला आँखा उघारेर आउँछ रात ।
~
यी रातहरूमा रात जागै बस्छ
सुन्धारामा ठिङ्ग उभिएको धरहराको छेउमा
धरहरासँगै

रानीपोखरी हेरिरहेको घण्टाघरसँग आँखा जुधाउँदै
जुगलसँग जुवारी खेल्दै

चिया बगानमा सुस्तरी सुस्तरी ओलाङचुङ्गोलाका खोचका कसैसँग साउती मार्दै
~
रातसँग तमन्ना केही छैन
बस् रातमा,रात आफ्नो छातीमा जूनलाई सुताएर
छाती थपथपाउँदै जुन निदाएको हेर्ने प्रतीक्षामा प्रतिबद्ध छ ।

जून भने,
प्रतीक्षामा रातसङ्ग जुन हुँदैन
जून कला देखाउँदै कालान्तरमा कलातीत भइदिन्छ

रात जून आउने रातको प्रतीक्षामा
रात पर्खेर बस्छ रातभर,

रात,आँखा मिच्दै मिच्दै अधेरी रातमा
प्रतीक्षारत हुन्छ रातभर ।
~
हँ,रात के खोज्दै होला रातभर ?
स्वयम्भूको डाँडा माथिबाट छाउनीका छानातिर

रात के खोज्दै होला रातभर ?
कंकालीको टुप्पाबाट काठमाडौँको गल्लीहरूमा

बानेश्वर अनामनगरका सडक पेटीदेखि संसद भवन र सिंहदरबारबाट भित्र चिहाउँदै,
रात कसलाई खोज्दै होला रातभर ?

देखिन्छ,आइफिल टावरका टुप्पाबाट सुतिरहेको सहर
रात देख्छ,सगरमाथाका शिरबाट घुरिरहेको देश
~

रात,बिहान कसैलाई जागेको हेर्ने आशामा
रात स्वस्थानीको साङ्गेको रात झैँ जाग्रम बसिरहन्छ रातभर ।

रात,बस जागा बसिरहन्छ
कसैलाई नजगाइकन
रातभर’ रात जागा बसिरहन्छ
~
रात हिँड्छ लुखुर-लुखुर
बालाजु,बसपार्क,चक्रपथ रिंगरोडका चौडा सडकहरुमा
दिनभर टायरका सुम्लाले सुन्निएको सडकको शरीर सुम्सुम्याउँदै

दौडन्छ;दिनभर दौडेर थाकेको माछापोखरी;बसुन्धराको सुनसान
बेबारिसे चोकलाई हालखबर सोध्दै,
~
रात, स्वागत गर्छ,साँगाका नाकाबाट भित्रिँदै गरेका गाडीलाई
थानकोटको बाटोबाट निस्कँदै गरेका मान्छेहरुलाई

रात,आउनेको स्वागतमा बाहु फैलाउँछ
जानेको विदाईमा हात हल्लाउँछ।
~
रात,पशुपतिका धर्मशालामा स्लपिंङ पिल्स खाएर,
लम्पसार सुतिरहेको सहरलाई  बस चुपचाप हेरिरहन्छ ।

सबैसँग भएर पनि एक्लै हुन्छ रात
सबैलाई देख्ने रातलाई कसैले देख्दैन बिचरा !
यस्तै-यस्तै
सबैलाई हेर्दैहेर्दै सारा रात दौडिरहन्छ रातभर

गन्तव्य निश्चित नभएपनि निद्रा लागेपनि रात
सुत्दैन,हिँडिरहन्छ रातभर
भौतारी रहन्छ रातभर
~
बिहान कसैलाई जागेको हेर्ने आशामा
रातले बस आँखा उघारेर हेर्न जानेको छ,
आँखा चिम्म गरेर सम्झन जानेको छ,
आँखा खोलेर रुन जानेको छ ।
~
चोभार काटे झै मञ्जुश्रीले
रातले बस् एक्लै पर्खाईमा रात काट्न जानेको छ

रात,चुपचाप रोइरहन्छ रातभर।
बस रातले अधेरी रातमा रुन जानेको छ।

कसैलाई जागेको हेर्ने आशामा अनिँदो छ रात,
लाखौं वर्षौंदेखि

सुतेको छैन रात लाखौं रातदेखि

रात अनिँदो छ ।

माैसमी प्रणाली कमजाेर बन्दै, आज बेलुकादेखि वर्षा राेकिने सम्भावना

काठमाडौं। माैसम पूर्वानुमान महाशाखाले बितेका २४ घण्टामा देशका अधिकांश भूभागमा मेघगर्जन/चट्याङ, असिना तथा हुरीबतासहित वर्षा भएको जनाएको छ।

महाशाखाका अनुसार हाल लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशका विभिन्‍न स्थानमा वर्षा भइरहेको छ।

महाशाखाले आमनागरिकलाई सचेत गराउँदै यो  माैसमी प्रणाली क्रमश: पूर्वतिर सर्ने क्रममा छ र उक्त प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना रहेकाे जानकारी दिएकाे छ ।

शुक्रबारदेखि  सक्रिय पश्चिमी न्यून चापीय प्रणालीका कारण बितेका २४ घण्टामा देशकाे ठाउँठाउँमा मेघगर्जन/चट्याङ, असिना तथा हुरीबतासहित वर्षा भइरहेकाे छ ।

मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी छः प्रवक्ता सापकोटा

काठमाडाैं। हाल मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण नेपालीहरुमा मानसिक त्रास बढ्दो क्रममा रहेको छ ।  मध्यपुूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिए । उनकाअनुसार बद्दो मानसिक त्रासका कारण स्वदेश फर्किन चाहने नेपालीहरुको संख्या पनि बढ्दो रुपमा रहेको छ ।

यस क्षेत्रमा २० लाख भन्दा बढी नेपाली श्रमिकहरु कार्यरत रहेका छन् । नेपाल सरकारले नेपाल फर्किन चाहने नेपाली श्रमिकहरुलाई राजदुतावासले उपलब्ध गराउने फारम भर्न अनुरोध गरेको छ ।  हाल पाँच सय भन्दा बढीले नेपालमा फर्किन चाहेको प्रवक्ता सापकोटाले बताए। नेपाल फर्किन चाहेका श्रमिकहरुसँग खर्च अभाव देखिएको उनको भनाई छ । उनले नेपाल फर्किन चाहेका र खर्च नभएको नेपालीहरुको उद्धारका लागि संघले ‘वैदेशिक रोजगार कल्याणकारी कोष’ स्थापना गरेको जानकारी दिए। सोही कोषमार्फत उद्धारको तयारी भइरहेको उनको भनाई छ ।

संघको १२ औँ महाधिवेशन सम्पन्न भएपछि बसेको विस्तारित बैठकले ५ करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको हो । उक्त कोषलाई बढाएर १० करोड रुपैयाँसम्म पु¥याइने लक्ष्य राखिएको उनले जानकारी दिए। उनले कोषको रकम उद्धारको साथै श्रमिकहरुको सुरक्षाको लागि खर्च गरिने बताए।

साथै, तेस्रो मुलुक जानको लागि मध्यपूर्वमा ट्रान्जिट भइ अलपत्र परेका नेपालीहरुको व्यवस्थापनमा खर्च गरिनेछ । प्रवक्ता सापकोटाकाअनुसार हालसम्म मध्यपूर्वको द्वन्द्वमा परि दुई नेपालीको मृत्यु भएको छ । धेरै नेपालीहरु असुरक्षा महशुस गरिरहेका छन् । असुरक्षित महशुस गरेका नेपालीको उद्धारको लागिक परराष्ट्र मन्त्रालयसहित नेपाल सरकारका निकायहरूसँग समन्वय गरेर संघले उद्धार टोली परिचालन गरेको उनले जानकारी दिए । उक्त टोलीमा एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद् र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी छन् ।

‘यो अफ्ठ्यारो परिस्थितिमा मध्यपूर्वका देशमा २० लाख नेपालीहरु वैदेशिक रोजगारमा हुनुहुन्छ, सबै देशमा गैरआवासीय नेपाली संघका राष्ट्रिय परिषद्हरु पनि छन्, १२ औँ महाधिवेशन सम्पन्न भईसकेपछि हामीले वर्तमान अवस्थामा महत्वका साथ सरकारलाई सहयोग गर्दै त्यहाँ भएका नेपालीहरुको समस्या समाधानमा हामी एकजुट भएका छौँ,’ प्रवक्ता सापकाेटाले भने, ‘हामीले हालैको विस्तारित बैठकबाट वैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना गरेका छौँ । कोषको माध्यामबाट त्यहाँ रहेका नागरिकहरुको उद्धारदेखि आवश्यक सहयोग गर्नेछौँ।’

प्रवक्ता सापकोटाले मध्यपूर्वमा हाल बाहिर फैलिएको जस्तो भयावहको स्थिति नभएपनि युद्धले आगामी दिनमा लिने रुप भने यकिन गर्न कठिन रहेको बताए ।

बसको ठक्करबाट काठमाडौंमा दुई भारतीयको मृत्यु

काठमाडौं । बसको ठक्करबाट काठमाडौंको भोटेबहालमा दुई भारतीय नागरिकको मृत्यु भएको छ ।

कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

उनका अनुसार बागमती प्रदेश-३-०१-००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि0 राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याइएको थियाे । तर दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक सुवेदीले बताए ।

बसचालक ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । उनी दाेलखाकाे भएकाे प्रहरीले जनाएकाे ५ ।

२४ घण्टामा विपदका ३६ घटना, १ को मृत्यु

काठमाडौं ।गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार देशका विभिन्‍न ३० जिल्लामा ३६ वटा विपद्का घटनाहरू भएका छन् ।

चैत ६ गते बिहान १० बजेदेखि ७ गते बिहान १० बजेसम्मको अवधिमा भएका यी घटनाहरूमा परी एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी चट्याङका घटनाहरू भएका छन् । ९ जिल्लामा भएका १० वटा चट्याङका घटनामा परी १० जना घाइते भएका छन् ।

त्यस्तै ७ जिल्लामा भएका ७ वटा आगलागीका घटनामा २ जना घाइते भएका छन् । लेक लागेर २ जिल्लामा २ वटा घटना भएका छन् । जसमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । यसका साथै अविरल वर्षा, पहिरो, हावाहुरी र जनावर आक्रमणका घटनाहरू पनि दर्ता भएका छन् ।

विपद्का यी घटनाहरूबाट ठूलो मात्रामा भौतिक तथा आर्थिक क्षति भएको छ । प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा करिब ३० लाख ८६ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ ।

यसै अवधिमा ३० वटा चौपायाको समेत क्षति भएको विवरण प्राप्त भएको छ । उद्धार र राहतका लागि देशभर १ सय ७७ जना प्रहरी जनशक्ति परिचालन गरिएको थियो ।

२०८२ वैशाख १ गतेदेखि चैत ७ गतेसम्मको समग्र तथ्यांक हेर्दा नेपालमा विपद्का घटनाहरू भयावह देखिएका छन् । यस अवधिमा कुल ७ हजार १ सय ४० वटा विपद्का घटनाहरू भएका छन् ।

जसमा परी ४ सय ७९ जनाले ज्यान गुमाएका छन् । तथ्यांकअनुसार ३८ जना अझै बेपत्ता छन् भने १ हजार ८ सय ७० जना घाइते भएका छन् ।

विगत एक वर्षमा आगलागीका ३ हजार ४ सय ४३ घटना भएका छन् । जसबाट १०२ जनाको मृत्यु भएको छ । त्यसतै सर्पदंशका ५ सय ९६ घटनाबाट ९८ जनाको मृत्यु भएको छ ।

त्यस्तै   पहिरोका ६०१ घटनाबाट ७४ जनाको मृत्यु भएको छ । जनावर आक्रमणका ४ सय ९५ घटनाबाट ५५ जनाको मृत्यु भएको छ भने चट्याङका ३ सय ९३ घटनाबाट ४७ जनाको मृत्यु भएको छ ।

विगत एक वर्षमा बाढीका ३ सय २० घटनाबाट ३८ जनाको मृत्यु भएको छ । यस अवधिमा कुल १२ हजार ९ सय ९४ परिवार विपद्का घटनाबाट प्रभावित भएका छन् ।

इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा आज पनि प्रदर्शन

काठमाडाैं। इनिशा विकको सामुहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

अधिकारकर्मी र सर्वसाधारणको सहभागितामा उक्त प्रदर्शन गरिएको हो । उनीहरुले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र महिला हिंसा अन्त्य गर्न माग गरेका छन् । प्रदर्शनकारीहरुले ‘इनिशालाई न्याय देउ’, ‘बलात्कारीलाई फाँसी देउ’, ‘महिला सुरक्षाको ग्यारेन्टी गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

प्रदर्शनमा सहभागी अधिकारकर्मीहरुले राज्यले महिला र बालबालिकाको सुरक्षामा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सांसदको सूचीमा नपरेपछि कलाकारितामै फर्किए प्रकाश सपुत

काठमाडौं। गायक प्रकाश सपुत कलाकारितामै फर्किएका छन्। शनिबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै पुनः कलाकारिता क्षेत्रमा सक्रिय हुने निर्णय सार्वजनिक गरेका छन्।

स्टाटसमा सपुतले लेखेका छन्, ‘अब म ढुक्कसँग जनतालाई मनोरञ्जन दिन चाहन्छु। मेरो बाल मन-मष्तिष्कले बोकिएको सामाजिक तथा राजनीतिक चेतको भारी बिसाएर केवल इन्टरटेनेर बन्ने चाहना छ। म समाज र राज्यको नजरमा एक सामान्य मान्छे भएर बाँच्न चाहन्छु।’

सपुत राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा प्रस्तावित भए पनि अन्तिम चरणमा परेनन्। उनले चुनावमा होमिनु देशका लागि पाँच वर्ष समर्पित गर्ने मनसायसँग भएको बताए पनि सूचिबाट बाहिरिनु प्रति कुनै गुनासो नरहेको बताएका छन्।

यस्तै, उनले रास्वपाका सभापति रवि लामिछानेले पार्टीमै रहेर देशका लागि योगदान गर्न गरेको प्रस्तावको स्मरण गर्दै धन्यवाद व्यक्त गरेका छन्। तर उनले लामिछानेलाई ‘अब साँच्चिकै देश बन्ने अनुभूति दिलाउने गरी काम गर्न’ सुझाव दिएको समेत उल्लेख गरेका छन्।

सपुत केही समयअघि मात्रै रास्वपा प्रवेश गरेका थिए।  उनलाई रास्वपाले समानुपातिक उम्मेदवार को सूचीमा पनि राखेको थियो।  २१ फागुनमा सम्पन्न भएको निर्वाचनबाट समानुपातिक तर्फा ५७ सांसद पाएको रास्वपाको अन्तिम सूचीमा भने सपुत परेका थिएनन्। 

६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा

काठमाडाैं। समान हक र समान अवसरका लागि एकीकृत आन्दोलन, समाजवादको आधार निर्माणका लागि संविधान संशोधन भन्ने मूल नाराका साथ शनिवार काठमाडौंको माईतीघरमा ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइएको छ ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको उक्त ध्यानाकर्षण सभामा दलित समुदायका अधिकारकर्मी, राजनीतिक नेता र नागरिक समाजका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । हरेक वर्ष मार्च २१ मा विश्वभर जातीय विभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ, जसले समानता र न्यायको आवाजलाई बुलन्द पार्दै आएको छ । नेपालको संविधानले जातीय विभेदलाई दण्डनीय अपराध माने पनि व्यवहारमा अझै पनि छुवाछुत र उत्पीडनका घटनाहरू कायमै छन् ।

यो दिवसले हामीलाई हाम्रो अधिकारका लागि निरन्तर लड्न प्रेरणा दिन्छ । सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको शार्पभिलमा रंगभेद विरुद्धको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा ६९ जनाको मृत्यु भएको थियो । सोही दुःखद् घटनाको स्मरणमा संयुक्त राष्ट्र संघले सन् १९६६ मा मार्च २१ लाई अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको रूपमा घोषणा गरेको हो । नेपालमा पनि यो दिवसलाई दलित अधिकार र सामाजिक न्यायको महत्वपूर्ण कडीको रूपमा मनाइँदै आएको छ ।

युएईको शहरमा ठुलो आक्रमण गर्ने इरानको चेतावनी

एजेन्सी- इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल-खैमाह सहरमा ‘निर्णायक शक्ति’ले आक्रमण गर्ने धम्की दिएको छ।

फारसका दुई खाडी द्वीपका विषयमा यूएईसँग लामो समयदेखि जारी विवादका बिच इरानले हमलाको चेतावनी दिएको हो।

इरानको सरकारी सञ्चारमाध्यमले टेलिग्राममा प्रकाशन गरको सन्देशमा इरानी सशस्त्र सेनाका प्रवक्ताले भनेका छन्, ‘अबु मुसा र ग्रेटर टुन्ब टापुहरूमा कुनै पनि नयाँ आक्रमण भएमा युएईले त्यो सहरमा आक्रमण गर्नेछ।’

दुवै टापु दशकौँदेखि इरानको नियन्त्रणमा छन्।

फारसको खाडीमा अवस्थित ती टापु  रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छन्।

यूएईले दुवै टापु आफ्नो भएको दाबी गरिरहेको छ। 

 

इरानसँगको युद्ध छिट्टै अन्त्य गर्ने ट्रम्पको दाबी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः इरानसँग जारी युद्ध छिट्टै अन्त्य गर्ने संकेत दिएका छन्। आफ्नै सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखिएको सन्देशमा उनले मध्यपूर्वमा इरानी आतंकवादी शासन विरुद्ध सञ्चालित प्रमुख सैन्य कारबाही लक्ष्यप्राप्तिका नजिक पुगेकाले क्रमशः रोक्ने तयारी भइरहेको दाबी गरेका छन्।

ट्रम्पले युद्ध अन्त्यको प्रसङ्गसँगै रणनीतिक हर्मुज स्ट्रेटको विषयसमेत जोडेर भनेका छन्- ‘यस मार्ग प्रयोग गर्ने राष्ट्रहरूले यसको सुरक्षाको जिम्मेवारी लिनुपर्छ।’ विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्ग हुँदै हुने हुँदा यसको स्थायित्व अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ।

उनका अनुसार अमेरिका आवश्यक परे सम्बन्धित मुलुकलाई स्ट्रेटको सुरक्षा प्रयासमा सहयोग गर्न तयार छ, तर इरानी खतरा समाप्त भएपछि त्यस्तो आवश्यकता रहने छैन। यस्तै, उनले इरानको क्षेप्यास्त्र क्षमता “पूर्ण रूपमा नष्ट” भइसकेको तथा यसको सैन्य औद्योगिक संरचना गम्भीर रूपमा क्षतिग्रस्त भएको दाबी पनि गरे।

ट्रम्पले इरान कहिल्यै आणविक हतियार विकासको नजिक नआओस् भन्ने कुरा सुनिश्चित भएको बताए पनि भित्रि विवरण भने भिन्न देखिन्छ। सीबीएसले उद्धृत गरेको अमेरिकी सैन्य अधिकारीहरूको भनाइअनुसार, इरानमा सम्भावित स्थलसेना तैनाथीका लागि व्यापक तयारी भइरहेको छ। पेन्टागनका वरिष्ठ अधिकारीहरूले यस्तो कदमका लागि योजनाबद्ध प्रस्ताव अघि सारिरहेको रिपोर्टमा उल्लेख छ।

गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलले संयुक्त हवाई आक्रमण गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी लगायतका शीर्ष व्यक्तिहरूको हत्या गरेयता स्थिति झन् तनावपूर्ण बनेको छ। मानवअधिकारसम्बन्धी समाचार संस्था एचआरएएनएका अनुसार इरानमा हालसम्म ३,१८६ जनाको मृत्यु भइसकेको छ।

यसबीच, इरानका सुरक्षा संरचनाका महत्वपूर्ण व्यक्तित्व- सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका प्रवक्ता अली मोहम्मद नैनीसमेत मारिइसकेका छन्। बढ्दो तनावबीच युद्ध वास्तवमै अन्त्यतर्फ उन्मुख छ कि अझ व्यापक द्वन्द्वतर्फ फैलिँदैछ भन्ने प्रश्नले अन्तर्राष्ट्रिय चिन्ता थप बढाएको छ।

अनेरास्ववियु पूर्वअध्यक्ष बडालको आरोप : ‘नेविसंघको कार्यगत स्वायत्तताको बहसले विद्यार्थी आन्दोलनको चरित्रमाथि प्रश्न उठायो’

काठमाडौं। अनेरास्ववियुका पूर्व अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य समिक बडालले नेपाल विद्यार्थी संघ (नेविसंघ) ले हालै उठाएको ‘कार्यगत स्वायत्तता’ सम्बन्धी बहसले देशको विद्यार्थी आन्दोलनको मूल चरित्रबारे पुनः प्रश्न खडा गरेको बताएका छन् । सार्वजनिक रूपमा स्वायत्तताको माग गरिए पनि संगठनभित्र पुरानै संरचना र नेतृत्व निरन्तरताको अभ्यास कायम रहेको भन्दै आलोचना बढ्दै गएको उनको भनाई छ ।

उनकाअनुसार मिडियामा देखिने निर्णयभन्दा फरक वास्तविकता क्याम्पसस्तरमा अनुभव गर्न सकिन्छ र विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता र अनुभूति नै संगठनको वास्तविक अवस्थाको मापन हुने बताइन्छ। ‘स्वायत्तताको भाषण र व्यवहारबीचको विरोधाभासले आन्दोलनलाई सुदृढ पार्नुको सट्टा कमजोर बनाउने जोखिम बढाएको छ,’  बडालले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

नेविसंघ र अनेरास्ववियुलाई लामो समयदेखि देशका प्रमुख राजनीतिक दलहरूको नेतृत्व उत्पादन गर्ने ‘नर्सरी’ का रूपमा हेरिएपनि पछिल्लो समय २५-३० वर्ष उमेर समूहका सक्षम, इमानदार र विचारशील युवाहरू नेतृत्वमा उदाउन नसकेको र यसले केवल विद्यार्थी राजनीति मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमा असर पार्ने उनको बुझाई छ । ‘हामी नेतृत्व उत्पादन गर्ने कारखाना हौं, पद बाँड्ने थलो होइनौं भन्ने सोच विकास गर्न जरुरी छ,’ उनले भनेका छन्।

हिजो मात्रै नेविसंघले आफू कांग्रेसको भ्रातृ संगठनका रुपमा नरही स्वायत्त संगठनका रुपमा रहने निर्णय गरेको थियो। 

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै धमिलो छ । निर्वाचनको उत्सव सकिएको छ, विजयका गुलालहरू पखालिइसकेका छन् र अहिले काठमाडौंका गल्लीहरूमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ । तर पोखराका गल्ली, चोक र चौतारीहरूमा भेटिने सर्वसाधारणका कुरा सुन्दा लाग्छ- उनीहरूको उत्साहभन्दा बढी ‘अन्तिम आशा’ जीवित छ । वर्षौँदेखि आश्वासनका पोकाहरू बोकेर घरदैलोमा आउने नेताहरू र सत्ताको कुर्सीमा पुगेपछि बदलिने उनीहरूको चरित्रबाट पोखरेली जनता यसरी थाकिसकेका छन् कि अब उनीहरूलाई भाषण होइन, परिणाम चाहिएको छ ।

बलबहादुरको १८ औँ भोट र एउटा हजुरबुबाको सपना

८४ वर्षको उमेर । चाउरिएका गाला र जीवनका धेरै उतारचढावका रेखाहरू प्रष्ट देखिने अनुहार । पोखराको एउटा कुनामा भेटिएका बलबहादुर नेपालीको कथा कुनै राजनीतिक दस्तावेजभन्दा कम छैन ।

‘मैले १८ पटक भोट दिएँ बाबु ! काँग्रेसमा हुर्किएँ, माओवादीलाई पनि हेरेँ । तर जति पटक भोट हाले पनि गरिबको भलो भएन । ठूलाठालुले देशका कम्पनी बेचेर खाए, हामीलाई जहिले पनि पछाडि पारे’ बलबहादुर भन्छन् ।

बलबहादुरको यो भनाइले नेपालको विगत ३०-३५ वर्षको राजनीतिक अस्थिरताले आम मानिसको मुटुमा पारेको घाउलाई छर्लङ्ग पार्छ । उनी अहिले कुनै राजनीतिक आस्थाले होइन, बरु एउटा विवश हजुरबुबाको सपनाले नयाँ अनुहारप्रति ढल्किएका छन् । उनी चाहन्छन्, आफ्ना छोरानातिले आफ्नै देशमा रोजगारी पाऊन्, बिरामी पर्दा उपचार नपाएर मर्नु नपरोस् र कम्तीमा गाँसबासको चिन्ता नहोस् । ‘जुन जोगी आए पनि कानै चिरिएको भन्छन्, तर हामीलाई धेरै चाहिएको छैन, मात्र बाँच्ने बाटो चाहिएको छ’ उनी भन्छन्।

नारायणप्रसादको ‘सिस्टम’ र पसिनाको मूल्य

पोखरा-३३ बागमाराका नारायणप्रसाद काफ्लेको कथा अलि फरक छ । उनी एउटा कर्मठ किसान हुन्, जसले २०६० सालदेखि गाई फार्म चलाएर माटोसँग पौँठेजोरी खेलिरहेका छन् । तर उनको संघर्ष माटोसँग मात्र होइन, देशको भ्रष्ट प्रणालीसँग पनि छ । उनी भन्छन्, ‘हामीलाई व्यक्तिगत फाइदा चाहिएको छैन, हामीलाई त एउटा सुशासनयुक्त ‘सिस्टम’ चाहिएको छ ।’

काफ्लेको अनुभव निकै तीतो छ । उनले आफ्नै आँखा अगाडि वास्तविक किसानले भन्दा ‘झोलामा कागज बोक्ने’ दलालहरूले सरकारी अनुदान कुम्ल्याएको देखेका छन् । नयाँ सरकारलाई उनको स्पष्ट खबरदारी छ-गल्ती गर्नेले सजाय पाओस्, सरकारी कार्यालय जाँदा फाइल बोकेर महिनौँ धाउनु नपरोस् र किसानको पसिनाको प्रतिफल दलालको खल्तीमा नजाओस् । जनता अब केवल ‘भोट बैंक’ मात्र बन्न तयार छैनन्, उनीहरू आफ्नो पसिनाको वास्तविक मूल्य खोजिरहेका छन् ।

सीतादेवीको उद्योग र बाकसमा फर्किने युवाको पीडा

पोखरा-७ मुस्ताङचोककी सीतादेवी आचार्य एउटी शाहसी उद्यमी हुन् । उनले प्लास्टिक उद्योगमार्फत ७० जनालाई रोजगारी दिएकी थिइन् । तर आज बजारको मन्दी र सरकारको उदासीनताले उनको उद्योग संकटमा छ ।
‘मार्केटमा पैसा छैन, सरकारले उद्योगीलाई हेर्दैन । ७० जनाको परिवार पालेकी थिएँ, अहिले आफैँलाई टिक्न गाह्रो छ’ उनी पीडा पोख्छिन् । तर सीतादेवीको व्यक्तिगत पीडाभन्दा ठूलो चिन्ता देशको भविष्यप्रति छ । दिनहुँ विमानस्थलबाट बाहिरिने युवाको लर्को र खाडीबाट बाकसमा फर्किने छोराछोरीको लासले उनलाई पिरोल्छ ।

‘नेपाल आमा रोइरहेकी छिन्, छोराछोरी बाकसमा फर्किरहेका छन्, गाउँमा मलामी जाने मान्छे छैनन्,’ सितादेवी भन्छिन् ।

उनको नयाँ सरकारसँग एउटै माग छ- अबकाे सरकार युवालाई विदेश पठाउने एजेण्ट होइन, स्वदेशमै पसिना बगाउने वातावरण बनाउने अभिभावक बनोस् ।

ऋषिरामको खबरदारीः ‘तेरो र मेरो पार्टी नभनी काम गरियोस्’

पोखरा-२१ का ऋषिराम बिकको चासो भने विकासको गुणस्तर र राजनीतिक निष्पक्षतामा छ । चुनावमा भोट दिएर पठाएका प्रतिनिधिहरूले अब मन्त्रिमण्डल गठन गर्दा जनताको आधारभूत आवश्यकतालाई भुल्न नहुने उनी बताउँछन् । ऋषिरामको अनुभवमा विकासका योजनाहरूमा चरम भ्रष्टाचार र दलीय भागबण्डा हुने गरेको छ ।

‘हाम्रो अपेक्षा के छ भने, जनताले जहाँ गए पनि आफ्नो कुरा राख्न सकून् । काम गर्दा तेरो र मेरो पार्टी भनेर भेदभाव नगरियोस्,’ ऋषिराम भन्छन् ।

विशेषगरी पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती र कमिसनतन्त्रप्रति उनको आपत्ति छ । ‘बाटो बनाउन आउने रकम ठाउँ-ठाउँमा बाँड्दाबाँड्दै सकिन्छ, अनि कसरी राम्रो बाटो बन्छ ? अगाडि बनाउँदै गयो, पछाडि भत्किँदै जान्छ,’ उनी थप्छन् ।

उनलाई नेताहरूको भाषणमा अब विश्वास छैन । उनी भन्छन्, ‘बोलीभन्दा काम गरेर देखाइदिए राम्रो हुन्थ्यो ।’

भाषणको रेल होइन, बाँच्ने आधार चाहिएको छ
पोखराका यी प्रतिनिधि आवाजहरू तीन व्यक्तिका कुरा मात्र होइनन्, यो वर्षाैँ देखि दबिएकाे आम नेपालीको साझा सुस्केरा हो । बलबहादुरको आशा, नारायणप्रसादको प्रणाली र सीतादेवीको उद्योग- यी सबैलाई जोड्दा एउटै निष्कर्ष निस्कन्छः जनतालाई ठूला भाषण, रेल र पानीजहाजका सपना होइन, आधारभूत आवश्यकताको सुनिश्चितता चाहिएको छ ।

नयाँ बन्ने सरकारका लागि पोखरेलीको सन्देश प्रष्ट छ- सरकारी अस्पतालमा सहजै अस्पतालका शैय्या पाइयोस्, सरकारी कार्यालयमा जाँदा नागरिकले अपमानित हुनु नपरोस् र आफ्नै माटोमा पसिना बगाएर सम्मानजनक जीवन बाँच्न पाइयोस् । यदि यो नयाँ सरकारले पनि पुरानै प्रवृत्ति दोहो¥यायो र जनताको यो ‘अन्तिम आशा’ माथि खेलबाड ग¥यो भने, त्यो निराशाको विस्फोट देशका लागि निकै महँगो सावित हुनेछ । उनीहरु भन्छन्ः सत्ताको कुर्सीमा बस्नेहरूले बेलैमा सुनून्, पाेखराकाे यो आवाज केवल अपेक्षा मात्र होइन, यो त एउटा गम्भीर खबरदारी पनि हो ।

बसको ठक्करबाट दुईजनाको मृत्यु

काठमाडौँ । काठमाडौं महानगरपालिका–१२ अन्तर्गतको भोटेबहाल क्षेत्रमा बसको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु भएको छ।


मृत्यु हुनेमा टेकु नजिकै बस्दै आएका भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिसकुमार कुसवाह रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

शुक्रबार साँझ कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले ठक्कर दिँदा दुवैजना गम्भीर घाइते भएका थिए। उपचारका लागि लगिएको ट्रमा सेन्टरमा गएराति दुवैको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए।

बस चालक दोलखा घर भई कपनमा बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान गरिरहेको छ।

इस्लाम धर्मावलम्वीहरूले हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै

काठमाडाैं। इस्लाम धर्मावलम्वीहरूको महान पर्व इद उल फित्र आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ ।  एक महिना लामो पवित्र रमजान महिनाभर रोजा (उपवास) बसेपछि चन्द्रमा देखिएसँगै आज यो पर्व मनाउने परम्परा रहेको छ ।

आज बिहानैदेखि काठमाडौंको घण्टाघरस्थित जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका विभिन्न मस्जिद र इदगाहहरूमा इस्लाम धर्मावलम्वीहरूको ठूलो उपस्थिति रहेको छ । मस्जिदहरूमा सामूहिक रूपमा नमाज पढ्दै उनीहरूले देशमा शान्ति, समृद्धि र आपसी भाइचाराको कामना गरेका छन् ।

इदको अवसरमा आज बिहानै नुहाइधुवाइ गरी नयाँ लुगा लगाएर मस्जिद जाने र सामूहिक प्रार्थना गर्ने गरिन्छ । प्रार्थनापछि एक–अर्कालाई अँगालो हालेर ‘इद मुवारक’ भन्दै शुभकामना आदानप्रदान गर्ने गरिन्छ । यस पर्वमा गरिब तथा असहायलाई दान (जकात र फित्रा) दिने परम्परा पनि रहेको छ, जसले समाजमा समानताको सन्देश दिन्छ ।

घरघरमा सेवई, खजुर लगायतका विशेष परिकारहरू बनाएर आफन्त र साथीभाइलाई खुवाउने चलन छ। यो पर्वले मुस्लिम समुदाय मात्र नभई सम्पूर्ण नेपाली समाजमा आपसी सद्भाव र एकतालाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।

पहिरोका कारण बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध

बुटवल । लगातार परिरहेको वर्षापछि झरेको पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित सिद्धबाबा क्षेत्रमा पहिरोसँगै ढुङ्गा खस्दा सडक बन्द भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ।

कार्यालयका अनुसार वर्षाका कारण दाउन्ने सडकखण्ड पनि अत्यधिक चिप्लो भएपछि पूर्व-पश्चिम राजमार्गको दुवै तर्फको यातायात ठप्प रहेको छ। बुटवल-पाल्पा मार्ग अवरुद्ध भएपछि सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशन दिइए पनि पाल्पा रुट समेत बन्द भएपछि यातायात व्यवस्थापन थप जटिल बनेको छ।

निरन्तर वर्षा भइरहेकाले अवरुद्ध सडक खुलाउन केही घण्टा लाग्ने नेपाल प्रहरीले जनाएको छ।

क्यानका उपाध्यक्ष सिंह भन्छन्- ‘पिएम कप खेलाडीहरूका लागि राष्ट्रिय टिममा पुग्ने लक्की पोइन्ट हो’

काठमाडाैं। नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटलाई काठमाडौं बाहिर विस्तार गर्ने उद्देश्यका साथ यस वर्षको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता मधेस प्रदेशको धनुषा र वीरगञ्जमा आयोजना गर्ने भएको छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा क्यानका राष्ट्रिय उपाध्यक्ष रोशन सिंहले जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ग्राउण्डको तयारी लगायतका सबै प्राविधिक कामहरू सम्पन्न भइसकेको जानकारी दिएका हुन्। सिंहकाअनुसार विगतमा धनुषामा पहिलो पटक जय ट्रफी आयोजना गरिएको सफलतापछि यसपालि क्यानले नै प्रधानमन्त्री कप जस्तो ठूलो प्रतियोगिता मधेशमा ल्याएको हो ।

उनले यस प्रतियोगितालाई खेलाडीहरूका लागि आफ्नो क्षमता प्रदर्शन गरेर राष्ट्रिय टिममा स्थान बनाउने ‘लक्की पोइन्ट’ भएको बताए । यसअघि लुम्बिनी प्रदेशमा आयोजना गरिएको यो प्रतियोगिता यसपटक मधेसमा ल्याइनुको मुख्य कारण क्रिकेटलाई काठमाडौंमा मात्र सीमित नराखी समग्र देशव्यापी बनाउनु रहेको सिंहले बताए। मौसमको प्रतिकूलताका कारण क्यानका अध्यक्षको आगमनमा केही अन्योल देखिए पनि टिमलाई बोलाउने काम भइरहेको सिंहकाे धारणा छ ।

नेपालको प्रतिष्ठित क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप यस वर्ष पहिलो पटक मधेस प्रदेशमा आयोजना हुन लागेको हो । मधेस प्रदेश क्रिकेट विकास समितिका सदस्य आकाश पाण्डेकाअनुसार यस प्रतियोगितामा कुल १० वटा टिमले सहभागिता जनाउनेछन् । सहभागी टिमहरूमा सातवटा प्रदेश र तीनवटा विभागीय टिम (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ क्लव) रहेका छन्। प्रतियोगिताको शुरुवाती तालिकाअनुसार काठमाडौंको टीयु ग्राउण्डसहित तीनवटा भेन्यु तय गरिएको भएपनि हाल टीयू ग्राउण्डमा रंगशाला स्तरोन्नतिको काम भइरहेकाले सबै खेलहरू मूलपानी र मधेस प्रदेशका ग्राउन्डहरूमा सारिएको छ ।

प्रतियोगिताका १७ वटा म्याच जनकपुरमा र १८ वटा म्याच वीरगञ्जमा खेलिनेछ । प्रतियोगिताको फाइनल खेल वीरगञ्जको टिडीएसआइ स्टेडियममा हुने तय भएको छ ।

बालेनलाई नेविसंघको चेतावनी : ‘विधार्थी संगठन खारेज गर्ने निर्णय गरे त्यसबाट बल्ने आगोमा जल्न तयार रहनु’

काठमाडाैं। नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठनहरु खारेज गर्ने काम नगर्न अब बन्ने सरकारलाई चेतावनी दिएको छ । शुक्रवार काठमाडौंमा आयोजित संघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ शेर्पाले सो चेतावनी दिनुभएका हुन्।

आफूले विद्यार्थी संगठनहरु खारेज गर्ने भनेर कहीँकतै मिडिया ट्रायल गर्ने काम भईरहेको भन्दै उनले त्यस्तो गलत काम अब बन्ने नयाँ सरकारले गरे त्यो आगोको गोलामा हात हाले सरह हुने समेत बताए । अध्यक्ष शेर्पाले विद्यार्थी संगठनकै आन्दोलनका कारण नेपालमा बालेन्द्र साहहरुले ¥याप गाउन पाउने अधिकार प्राप्त भएकाले पनि त्यस्ता संगठनहरु खारेज गर्ने काम सह्य नहुने बताए ।

‘रवि लामिछानेजीलाई हिजो टिभी कार्यक्रम संचालन गर्न दिने, खुला मञ्चमा गएर भ्रष्टाचारीहरुको नाकको डाँडी भाच्ने भनेर बोल्ने त्यो अधिकार नेपाल विद्यार्थी संघले दिएको हो,’ उनले भने, ‘सर्वोच्च अदालतले समेत नेपाल विद्यार्थी संघ चाहिन्ख्छ उसले विद्यार्थीको अधिकारका लागि बोल्छ भनेर हामीलाई सर्वोच्चले् पनि मान्यता दिएको छ । त्यसैकारणले म भन्न चाहन्छु –आगोको गोलामा हात हाल्ने काम नगर्नुहोला । त्यो आगोको ज्वालाले तपाईहरु भष्म हुनुहुन्छ ।’

अध्यक्ष शेर्पाले काँग्रेस भित्रको गुटगत स्वार्थका कारण प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोर्नु परेको जिकिर समेत गरे ।

ठूलो परिमाणको लागुऔषधसहित १ जना पक्राउ

पाेखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो परिमाणको लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवा तथा लागुऔषध नियन्त्रण व्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले गत बुधबार बेलुकी साढे ५ बजे तामाङलाई पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध डाइजापाम १ हजार ७ सय २१ एम्पुल, फेनेरागन ३ सय ३४ एम्पुल, ब्रुफिनुर्फिन ३ सय ७७ एम्पुल गरी कुल २ हजार ४ सय ३२ एम्पुल, २ थान मोबाइल र नगद ९३ हजार ५ सय रुपैयाँ बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

उनकाअनुसार पक्राउ परेका तामाङले डाइजापाम, फेनेरागन र ब्रुफिनुर्फिनको १÷१ एम्पुलको सेट बनाएर प्रतिसेटलाई २ हजार रुपैयाँमा विक्री गरेका थिए । पक्राउ परेका उनीविरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपी बस्नेतले बताए ।

गगन थापाको राजीनामा केन्द्रीय समितीको बैठकबाट अस्वीकृत

काठमाडौं। नेपाली कांग्रेसको आज बसेको बैठकले उपसभापति विश्व प्रकाश शर्माद्वारा प्रस्ताव गरिएको सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पारित गरेक‍ो छ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसका अनुसार अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी सभापतिको राजीनामाको विपक्षमा मत राखेका छन्। 

‘अधिकांश केन्द्रीय सदस्यहरुले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्तावमा सहमति जनाईसकेका छन्, अब औपचारिक निर्णय गर्न मात्रै बाँकि हो’ प्रवक्ता चालिसेले नेपालवन एचडीसँग बताए।  

अब अघिल्लो बैठक पर्सि बिहान ८ बजे फेरि बस्नेछ । उक्त बैठक सभापति थापाकै अध्यक्षतामा बस्ने नेताहरूले जानकारी दिएका छन् ।

चुनावी पराजयका कारण नैतिकताका आधारमा सभापति थापाले राजीनामा दिएका थिए । उनी आजको बैठकमा उपस्थित भएनन् । उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका थिए । 

बैठकमा शर्माले उक्त प्रस्ताव पेस गर्दा हलले ताली बजाएर समर्थन गरेको थियो । 

नेविसंघको १२ औँ महाधिवेशन वैशाख २० र २१ मा गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशनको वैशाख २० र २१ गते प्रस्ताव गरिएको छ । शुक्रबार सुरु भएको नेविसंघको सिनेट बैठकमा अध्यक्ष दुजाङ शेर्पाले प्रस्ताव गरेको  महाधिवेशनको कार्यतालिकाअनुसार वैशाख २० र २१ मा महाधिवेशन गर्ने कुरा उल्लेख छ ।

प्रस्तावित कार्य तालिकाअनुसार चैत १७ गते अधिवेशन प्रतिनिधि चयन/प्रतिनिधि नामावली प्रकाशन, चैत २५ गते माध्यमिक विद्यालयमा अधिवेशन, चैत २७ गते स्थानीय तहका अधिवेशन, चैत २९ गते क्याम्पस, कलेज, प्रतिष्ठान र सीटीईभीटीअन्तर्गतका शिक्षालयमा अधिवेशन, वैशाख ६ गते ७७ जिल्लामा अधिवेशन, वैशाख ८ र ९ गते क्याम्पस इकाई अधिवेशन, वैशाख १० र ११ गते विश्वविद्यालय क्याम्पस समिति र समन्वय समितिका अधिवेशन, वैशाख १५ गते प्रदेश अधिवेशन र २० र २१ गते केन्द्रीय महाधिवेशन गर्ने भनिएको छ ।

काँग्रेसका केन्द्रिय सदस्यहरुले भने– ‘पार्टी पुनर्निर्माणका लागि थापाको नेतृत्व आवश्यक छ, राजीनामा स्वीकृत गर्नुहुन्न’

काठमाडाैं। नेपाली काँग्रेसका अधिकांश केन्द्रिय सदस्यहरुले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा स्वीकृत गर्न नहुने धारणा राखेका छन् । पार्टी केन्द्रिय कार्यसमितिको जारी पार्टी बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका हुन् ।

बैठकमा बोल्ने बहुमत सदस्यहरुले नैतिकताको आधारमा दिएको राजीनामाको उच्च सम्मान गर्दै अस्वीकृत गर्नुपर्ने धारणा राखेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका हुन् । प्रवक्ता चालिसेकाअनुसार अधिकांश सदस्यहरुले देशको पछिल्लो परिस्थिति र पार्टी पुननिर्माणका लागि थापाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अहिलेको समय परिस्थिति सम्हाल्न तथा पार्टीलाई थप जिम्मेवारीका साथ अघि बढाउने बेला उनको भनाइ छ ।

‘देशको परिस्थिति र पार्टीलाई नवजीवन दिनुपर्ने, पार्टीलाई पुनःनिर्माण गर्नुपर्ने र आधुनिकीकरण गरेर फेरी जनताले अपेक्षा गरेअनुसारकै काँग्रेस पार्टी बनाउने दायित्व यो समितिमा छ । यो समितिले नै १५ महाधिवेशन पनि सम्पन्न गर्नुपर्ने छ । यो सबै परिस्थितिमा उहाँले नैतिकताको आधारमा दिएको राजीनामालाई हामीले उच्च मूल्याङ्कन गर्दै त्यसलाई अस्वीकार गर्ने प्रस्ताव पनि छ’ चालिसेले बताए।

सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामाको विषयमा बैठकमा छलफल भइरहेको छ । जारी बैठकले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट आएको जनमतलाई स्वीकार्ने निर्णय गरेको पनि प्रवक्ता चालिसेले जानकारी दिए ।

काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा

काठमाडौं। काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा भएको छ ।

नेपालमा पश्चिमी न्युन चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसअनुसार हाबाहुरी चट्याङसहित देशभर असिना पानी परेको हो । काठमाडौं उपत्यकासहित बुटबल, अर्घाखाँची, ओखलढुंगासहित देशका विभिन्न भू—भाग दिउँसै अन्धकारमय बनेको थियो ।

जसकारण जनजीवन अस्तव्यस्त बनेको थियो ।

त्यसो त, मौसम विभागले पनि आज शुक्रवार कोशी, मधेस, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरू, वागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्ग-असिना-हावाहुरी सहित मध्यम  वर्षा-हिमपातको सम्भावना रहेको बताएको थियो । कोशी र मधेस प्रदेको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको अनुमान गरेअनुसार नै देशभर बर्षा भएको हो । वर्षाका करण लामोसमयको वायु प्रदुषण कम भएको छ भने खेतीबालीलाई भने राहत मिलेको छ ।

सामाजिक संजालमा अफवाह फैलाउने सात नेपाली खाडीमा पक्राउ

काठमाडाैं। खाडी मुलुकहरूमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल-अमेरिका र इरानबीचको युद्ध चर्किँदै जाँदा इरानले संयुक्त अरब एमिराट्समा मिसाइल तथा ड्रोन आक्रमण गरिरहेको भन्दै त्यहाँ खसेका क्षेप्यास्त्र वा ड्रोनका फोटो-भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेको आरोपमा यूएई प्रहरीले नेपालीहरुलाई पक्राउ गरेको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार यूएईमा तीन, साउदी अरबमा तीन र कुवेतमा एक गरी जम्मा ७ नेपाली पक्राउ परेका छन्। उनले खाडी मुलुकका अधिकारीहरूबाट यही विवरण प्राप्त भएको बताए।

परराष्ट्र मन्त्रालयले युद्धसम्बन्धी दृश्य, ड्रोन वा मिसाइलका अवशेष, सुरक्षासम्बन्धी गतिविधि लगायतका फोटो-भिडियो नखिच्न र कुनै पनि अवस्था स्थिति सामाजिक सञ्जालमा पोस्ट नगर्न सर्वसाधारण नेपालीलाई पुनः आग्रह गरेको छ। मंत्रालयले यस्ता गतिविधिले स्थानीय कानुन उल्लंघन हुने र कडा कारबाही भोग्नुपर्न सक्ने चेतावनी पनि दिएको छ।

 

मध्यपूर्वमा रहेका नेपाली नागरिकको विवरण संकलन जारीः हालसम्म ८२ हजार बढीले विवरण दर्ता गराए

एजेन्सी- परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार एक सय जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ ।

शुक्रवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी दिएका हुन् ।

उनका अनुसार अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिव ६ हजार जनाले शुरुमा आफूहरू असुरक्षित रहेको जानकारी गराएका थिए । तर पछिल्ला दिनहरूमा असुरक्षित महशुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको उहाँको दाबी छ । इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका बीच मध्यपूर्वका विभिन्न देशहरुबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको क्षेत्रीले उल्लेख गरे। उनले अवस्था सामान्य बन्दै गएको कारण श्रम स्वीकृतिको विषयमा जानकारी लिन धेरैजसो सम्पर्क हुने गरेको जानकारी दिए।

उनले मन्त्रालयले आफ्ना १० वटै नियोगहरूमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य भइरहेको समेत जानकारी दिए । ब्रिफिङका क्रममा प्रवक्ता क्षेत्रीले हाल कुनैपनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको जानकारी दिनुभयो । जेद्दामा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेको उनको भनाइ छ ।

‘कन्सुलर सेवा विभागबाट जुन अनलाइन दर्ता प्रणाली प्रयोजनमा ल्याइएको थियो उक्त प्रणालीमा हालसम्म ८२ हजार १ सय जनाले विवरण दर्ता गराउनुभएको छ,’उनले भने,’यो डेटामा झन्डै ६ हजार जतिले हामी असुरक्षित छौँ भन्नुभएकोमा पछिल्लो केही दिनयता असुरक्षित छौँ भन्नेको संख्या ह्वात्तै घटेको देखिन्छ’ उनले भने ।

उनले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको भन्दै आवश्यक परेको खण्डमा उद्धारको लागि समेत तयार रहेको जानकारी दिए ।

महिलाले महिलाकै विरोध गर्ने होइन, वकालत गर्ने संस्कार बसालौंः महान्यायाधिवक्ता भण्डारी

महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरु उच्च पदमा पुग्दा महिलाहरुबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एकअर्काको वकालत गर्ने संस्कार बसाल्न आग्रह गरेकी छन् ।

शुक्रवार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी थिइन्। भण्डारीले आगामी दिनमा न्यायपालिकामा महिला नेतृत्व पाउने आशा व्यक्त गर्दै सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश हुनेमा आफू विश्वस्त रहेको बताइन् । महान्यायाधिवक्ता भण्डारीले कानून व्यवसायी महिलाहरु केवल पेशागत भुमिकामा मात्र सिमित नभई समाज परिवर्तनका वास्तविक संवाहक भएको बताइन्।

महिला, बालबालिका, दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकार संरक्षणमा महिला कानून व्यवसायीको भुमिका निर्णायक हुने उनले उल्लेख गरिन् ।

जब म महान्यायाधिवक्ताको पदमा मेरो मनोनयन भयो त्यही बेला मलाई केही पत्रकार मित्रहरुले मलाई प्रश्न गर्नुभयो,’ उनले भनिन्, ‘मैले भनें सायद हामीले हाम्रा वकालत गर्नै जानेनौँ । हामी महिला त भयौं तर महिलाको वकालत गर्न हामीले जानेनौँ।’

समानता केवल संविधानमा लेखिएको शब्द मात्र नभई व्यवहार र न्यायमा देखिनुपर्नेमा उनको जोड छ ।

गगन थापालाई चुनावी हारमा दोषमुक्त गर्दै झन् शक्तिशाली बनाइँदै (भिडियो)

काठमाडौं । नेपाली कांग्रेस भित्र देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले सभापति गगन थापा लाई हटाउने होइन, झन् शक्तिशाली बनाउँदै लैजाने संकेत देखिएको छ।

प्रतिनिधिसभा निर्वाचन २०८२ को कमजोर परिणामपछि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थापाको निर्णयलाई नै अब पार्टीभित्रै ‘नैतिक बल’ का रूपमा व्याख्या गर्न थालिएको छ।

केन्द्रीय समिति बैठकमा थापाको राजीनामा प्रमुख एजेन्डा बन्ने भए पनि त्यसलाई अस्वीकृत गर्ने तयारीसँगै उनी पुनः बलियो जनादेशसहित नेतृत्वमा फर्किने अवस्था बन्दै गएको छ।

उपसभापति विश्वप्रकाश शर्मा ले राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने घोषणा गरिसकेका छन्। उनले थापाको कदमलाई “नैतिक साहस” भन्दै अहिलेको आवश्यकता नेतृत्व परिवर्तन नभई परिस्थिति सम्हाल्ने भएको स्पष्ट पारेका छन्।

पार्टी प्रवक्ता देवराज चालिसे ले पनि बैठकमा चुनावी समीक्षा र राजीनामाबारे खुला छलफल हुने बताए पनि समग्र संकेत नेतृत्व जोगाउनेतर्फ केन्द्रित देखिन्छ। यसले थापाको निर्णयलाई उल्टै पार्टीभित्र समर्थन संकलन गर्ने माध्यम बनाएको विश्लेषण भइरहेको छ।

उपसभापति पुष्पा भुसाल ले सबै धारणा समेटेर निष्कर्ष निकालिने बताएकी छन्, तर शीर्ष तहका नेताहरूको अभिव्यक्तिले थापाको राजीनामा स्वीकृत हुने सम्भावना कमजोर देखिन्छ।

महामन्त्री गुरुराज घिमिरे ले त झन् चुनावी हारलाई वर्तमान नेतृत्वसँग मात्र नजोड्न आग्रह गर्दै दीर्घकालीन संरचनागत कमजोरीतर्फ औंल्याएका छन्। यसले पनि थापामाथिको प्रत्यक्ष दबाब कम गर्दै उनलाई ‘दोषमुक्त’ बनाउने आधार तयार गरेको छ।

यता प्रकाशशरण महत ले एक व्यक्तिको राजीनामाले समस्या समाधान नहुने बताउँदै व्यापक सहमति र नियमित महाधिवेशनको आवश्यकता औंल्याएका छन्।

उनको भनाइले पनि नेतृत्व परिवर्तनभन्दा संस्थागत सुधारतर्फ ध्यान केन्द्रित गर्नुपर्ने सन्देश दिएको छ।

बालेन प्रधानमन्त्री हुनुअघि सहकारीपीडितहरू सडक प्रदर्शनमा

सहकारी ठगी आरोपी रवि लामिछाने सभापति भएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शक्तिशाली सरकार गठन गर्नै लाग्दा सहकारीपीडितहरू सडकमा आइपुुगेका छन् ।
सभापति लामिछाने विगतमा गोर्खा मिडिया नेटवर्कअन्तर्गतको ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशक छँदा तत्कालीन अध्यक्ष जीबी राईले विभिन्न सहकारीको बचत अपचलन गरेर ल्याएको रकम लामिछानेले दुरुपयोग गरेका थिए । यो कुरा लामिछाने स्वयंले स्वीकारेका छन् ।

सोही कारण थुनामा समेत बसेका लामिछानेले निर्वाचनअघि पार्टीको बाचापत्रमा रास्वपाले सरकार गठन गरेको १०० दिनमै सहकारीपीडितको बचत फिर्ता गर्ने उल्लेख गरेका थिए । तर, बचत फिर्ता कसरी गर्छन् ? टुङ्गो छैन ।

यस्तोबेला सहकारीपीडितहरूले भने फेरि काठमाडौंको माइतीघरमा प्रदर्शन थालेका हुन् । उनीहरूले भनिरहेका छन्– बचत फिर्ता चाहियो ।’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यसअघि प्रधानमन्त्री भएका बेला पनि सहकारीपीडितहरू न्याय माग्दै सडकमा आएका थिए ।

अब रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री हुन लाग्दा पनि बालेनको ध्यानाकर्षण गराउन सडक प्रदर्शनमा सहकारीपीडितहरू ओर्लिएका हुन् ।

ओली प्रधानमन्त्री छँदा गठन गरिएको सहकारी सम्बन्धी उच्चस्तरीय जाँचबुझ समितिले ८४ अर्ब बढी रकम सहकारीको हिनामिना भएको प्रतिवेदन सरकारलाई बुुझाएको थियो ।

रास्वपा सभापति लामिछाने विपक्षी भएको काठमाडौं, चितवन, कास्की, रुपन्देही र पर्साका पाँचवटा सहकारीको मात्रै अर्बौँ बचत अपचलन भएको थियो ।

उनै लामिछाने सभापति भएको दल रास्वपाले बालेनको नेतृत्वमा सरकार गठन गर्न लाग्दा थप दबाब सिर्जना गर्न सहकारीपीडितहरूले सकड प्रदर्शनको विकल्प रोजेका छन् ।

अमेरिका, इजरायल र इरान युद्धमा मारीनेको संख्या ३ हजार नाघ्यो

एजेन्सी- अमेरिकास्थित मानव अधिकार सुरक्षा सम्वन्धी समाचार संस्था एचआरएएनएले इरानमा भइरहेका हवाई आक्रमणपछि मृत्यु भएको नागरिकको अद्यावधिक तथ्यांक सार्वजनिक गरेको छ। एजेन्सीका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको संयुक्त हवाई कारबाहीपछि इरानमा हालसम्म ३,१८६ जनाले ज्यान गुमाइसकेका छन्।

एजेन्सीले दिएको विवरणअनुसार मृतकमध्ये कम्तीमा २१० बालबालिका, १,३९४ जना सर्वसाधारण, र १,१५३ जना सैन्य कर्मचारी रहेका छन्। साथै ६३९ जनाको पहिचान खुल्न बाँकी रहेको उल्लेख गरिएको छ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त हवाई आक्रमण गर्दै इरानका तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता क्षेत्रव्यापी तनाव तीव्र भएको छ। त्यसको जवाफमा इरानले  इजरायल र अमेरिकी अड्डा रहेका खाडी मुलुकहरूमा ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको छ, जसका कारण मध्यपूर्वमा युद्धको स्वरूप थप जटिल बन्दै गएको छ।

त्यसैबीच, इजरायलले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीलाई पनि लक्षित गर्दै हत्या गरेको जनाएको छ। घटनापछि आक्रोशित इरानी सैन्य प्रमुख अमिर हतामीले ‘निर्णायक बदला’ लिने चेतावनी दिएका छन्।

इरानले पुष्टि गरेअनुसार इजरायल-अमेरिकाको आक्रमणबाट हालसम्म ३ हजारभन्दा बढी मानिस मारिएका छन्। खामेनीको हत्या भएपछि इरानले उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता घोषणा गरिसकेको छ। इजरायलले अब उनीसमेत ‘निशानामा’ रहेको संकेत दिएको बताइन्छ।

हालै इजरायलले इरानमा अवस्थित ‘साउथ पार्स ग्यास फील्ड’मा हवाई आक्रमण गरेपछि इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमाथि प्रतिरोधात्मक कारबाही तीव्र बनाएको छ। सोही क्रममा इरानले कतारपछि कुवेतका तेल प्रशोधन केन्द्रहरूमा पनि हवाई हमला गरेको दाबी गरिएको छ।

काङ्ग्रेस केन्द्रीय समितीको बैठकमा गगन थापा अनुपस्थित, सभापतिको कुर्सी खाली

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्मा गरेका छन् ।

यसअघि राजीनामा दिएका निवर्तमान सभापती गगन थापा बैठकमा सहभागी छैनन् । तर बैठकमा उनको कुर्सी भने खाली राखिएको छ। 

आजको बैठकमा सभापति थापाको राजीनामा र चुनावी समीक्षा गर्ने बैठकको एजेन्डा छ । उपसभापति शर्माले बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने बताइरहेका छन् ।

सेतो मच्छिन्द्रनाथको रथ यात्राको लागि रथ निर्माण कार्य शुरु

काटमाडाैं। सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलस्थित तीनधारा पाठशालामा रथ निर्माण कार्य शुरु भएको छ ।

वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन शुरु गरिएको हो । काठमाडौं उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलनअनुसार सेतो मछिन्द्रनाथको रथयात्रा गर्ने गरिन्छ । यसपटकको सेतो मच्छिन्द्रनाथको जात्रा १२ चैतमा परेको छ ।

करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट खटमा राखी तीनधारा पाठशालामा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन रहिआएको छ । यात्राको अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीनपटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।

किंवदन्तीअनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठह¥याइ जनबहालमा स्थापना गरिएको किंवदन्ती छ । सोही परम्पराअनुसार अहिले पनि मूर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ ।

उपत्यकामा जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमति र चोभारको रातोसहित चारवटा मच्छिन्द्रनाथ छन् ।

नयाँ बन्ने सरकारलाई खबरदारी गर्दै सहकारी पीडितले भनेः ‘आफ्ना छोप्ने, पराइ हेप्ने प्रवृत्ति नदोहोरियोस्’

काठमाडाैं। सहकारीमा फसेको आफ्नो वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले सरकारको ध्यानाकर्षण गराउन पुनः सडक आन्दोलन शुरु गरेका हुन् । विगत ४५ महिनादेखि निरन्तर सडक आन्दोलनमा रहेका पीडितहरूले सरकारसँग पटक–पटक  सम्झौता भएपनि हालसम्म न्याय नपाएको गुनासो गरेका छन् ।  सरकारले गरेका सम्झौताहरू कागजमै सिमित भएको र आफूहरूको बिचल्ली भएको भन्दै उनीहरू आक्रोशित बनेका छन् ।

उनीहरुले वाचापत्रमा लेखेको सय दिनेप्रक्रिया हामीले पनि सम्झिएका छौँ, आफ्ना छोप्ने, पराइ मात्रै हेप्ने प्रवृत्ति नदोहोरियोस्, अपराध अनुसार सञ्चालकको प्रवृत्ति अनुसार दण्ड गर्ने विधान बनोस्, ठग सञ्चालकहरुको नागरिकता, पासपोर्ट, बैंक खाता, चल अचल सम्पती रोक्का गरियोस्, नयाँ बन्ने सरकार सहकारी पीडितलाई न्याय दे लगायतका प्लेकार्डहरु बोकेर प्रदर्शन गरेका छन् ।

जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना

जनकपुर। अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले जानकी मन्दिरमा पूजा अर्चना गरेकी छन् ।

अन्तरिम सरकारको नेतृत्व गरेपछि जनकपुरधाम पहिलो पटक जानुएकी प्रधानमन्त्री कार्की जानकी मन्दिर पुगेर पूजा अर्चना गरेकी हुन्।

जनकपुरधाम विमान स्थलबाट जानकी मन्दिर पुग्नुभएकी प्रधानमन्त्री कार्कीले पूजा अर्चना पश्चात मन्दिरका महन्थ तथा पूजारीहरुसँग समेत भेटघाट गरिन् । पूजा पश्चात उनले जनकपुरधाम भ्रमण उपलब्धिमुलक रहेको जानकारी दिइन्। उनले आफू राजनीति गर्ने मान्छे नभएको र धार्मिक प्रयोजनका लागि मात्रै जनकपुरधाम आइपुगेको बताइन् ।

जनकपुरधामबाट उनी महोत्तरी जाने कार्यक्रम रहेको छ । उनले महोत्तरीको गौशालामा रहेको निगौल गाई गौशालाको निरिक्षण गर्नेछिन्।

मन्त्रालयको संख्या १५ देखि १८, गृहमा अर्याल र लम्सालको चर्चा, चैत्र १३ मा देशले नयाँ प्रधानमन्त्री पाउने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई-तिहाइ सिट हातपारेपछि नयाँ सरकार गठनबारे गरेको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ।

चुनाव परिणाम सार्वजनिक भएसँगै पार्टी भित्र मन्त्रीको चयनदेखि मन्त्रालय पुनःसंरचना तकका विषयमा निरन्तर छलफल चलिरहेको छ। चुनावअघि जारी गरिएको वाचापत्रअनुसार मन्त्रालय संख्या घटाउने एजेन्डालाई रास्वपाले प्राथमिकतामा राखेको छ, र यही आधारमा सरकारको आकार १५ देखि १८ मन्त्रालयभित्र सीमित गर्ने प्रस्ताव टेबुलमा परेको पार्टी स्रोत बताउँछ।

पार्टी भित्र मन्त्री छनोटको विषय पनि समानान्तर रूपमा अघि बढिरहेको छ। स्रोतका अनुसार उपसभापति डीपी अर्याल र महामन्त्री सुनिल लम्साल मध्ये एकलाई गृह मन्त्रालय र उपसभापति स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालय दिनेबारे गम्भीर छलफल भइरहेको छ। दुवै नेताको संगठनात्मक भूमिका, जनविश्वास, र विशेषज्ञतालाई ध्यानमा राखेर उनीहरूलाई जिम्मेवारी दिन पार्टी भित्र व्यापक सहमति बन्दै गएको बताइन्छ।

यस्तै, प्रवक्ता मनिष झा, सांसद शिशिर खनाल, सोबिता गौतम, राजुनाथ पाण्डे, सस्मित पोखरेल लगायतलाई पनि मन्त्री बनाउने सम्भावनाबारे आन्तरिक स्तरमा निकै क्रियाशील बहस चलिरहेको छ। विस्वसनिया स्रोतका अनुसार शिशिर खनाललाई परराष्ट्र मन्त्रालय र सोबिता गौतमलाई कानुन मन्त्रालय दिने प्रस्ताव पनि औपचारिक रूपमा छलफलमा छ।

पार्टी सभापती रवि लामिछानेले सभामुख पद युवालाई दिने प्राथमिकता राखेका छन्, तर कसलाई ल्याउने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन। सरकार गठनको तयारीसँगै प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा विदेशी राष्ट्राध्यक्षहरूको सहभागिता सुनिश्चित गर्न समन्वय गर्ने विषयमा पनि पार्टी सक्रिय रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

चैत १२ गते नव-निर्वाचित सांसदले शपथ लिने कार्यक्रम रहेको छ। त्यसको भोलिपल्ट रास्वपाका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तय भएको छ। सरकार गठनका विभिन्न आयामबारे बिहीबार साँझ अध्यक्ष लामिछाने, वरिष्ठ नेता शाह, उपसभापति अर्याल र उपसभापति वाग्लेबीच वैठक बसेको र त्यहाँ मन्त्रालयगत संरचना, जनप्रतिनिधिको जिम्मेवारी र पहिलो १०० दिनको एजेन्डाबारे पनि गहिरो छलफल भएको बताइन्छ।

रक्षा बममाथि दुर्व्यवहार भएको भन्दै जेन-जी फन्टले गर्यो भर्त्सना

काठमाडौँ । नेपाल जेनजी फ्रन्टले माइतीघरमा भएको प्रदर्शनका क्रममा आफ्नी संयोजक रक्षा बममाथि दुर्व्यवहार भएको घटनाप्रति कडा आपत्ति जनाएको छ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै फ्रन्टले शान्तिपूर्ण आन्दोलनमा सहभागी भएकी संयोजकमाथि गरिएको व्यवहार अस्वीकार्य भएको स्पष्ट पारेको छ।

फ्रन्टले भनेको छ, ‘बिहीबार शान्तिपूर्ण प्रदर्शनका क्रममा संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको हामी घोर भर्त्सना गर्दछौँ। संविधानले हरेक नागरिकलाई शान्तिपूर्वक भेला हुने र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ। सत्य र न्यायका लागि उभिएकी एक आन्दोलनकारीमाथि यस्तो आक्रमण लोकतान्त्रिक समाजमा स्वीकार्य हुँदैन।’

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश **गौरीबहादुर कार्की**को संयोजकत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अगुवाहरू ६ दिनदेखि माइतीघर मन्डलामा निरन्तर प्रदर्शन गरिरहेका छन्। सोही क्रममा केही घाइते आन्दोलनकारी र अगुवाहरूले रक्षा बमविरूद्ध नाराबाजी गरेका थिए।

फ्रन्टले आन्दोलनकारीमाथि लक्षित दुर्व्यवहारले आन्दोलनको शक्ति कमजोर बनाउने चेतावनी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘घाइते, सहिद परिवार, आन्दोलनकारी र अगुवाहरू सबै एउटै यात्राका साझेदार हौँ। असहमति हुन सक्छ, प्रश्न उठ्न सक्छ, पीडाले आक्रोश पनि देखिन सक्छ। तर उत्तर एकअर्कामाथि होइन, राज्यसँग खोजिनुपर्छ। राज्यले अझैसम्म सत्य लुकाइरहेको छ, प्रतिवेदन सार्वजनिक नहुने आशंका बढ्दै छ। यस्तो अवस्थामा एक आन्दोलनकारीमाथि भएको दुर्व्यवहारले आन्दोलनलाई थप कमजोर बनाउनेछ।’

घन्टीमा भोट हाल्ने नेताहरूलाई आँखा चिम्लेर कारबाही गर्ने प्रचण्डको चेतावनी (भिडियो)

काठमाडौं । घन्टी चुनाव चिह्नमा मत दिने नेताहरूलाई पार्टीबाटै हटाउनेगरी कारबाही गर्ने चेतावनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएका छन् ।

चुनावी नतिजाप्रति असन्तुष्ट प्रचण्डले आफ्नै पार्टीका उम्मेदवारलाई भन्दा पनि रास्वपाका घण्टी चिह्नबाहक उम्मेदवारहरूलाई मत दिने सबै नेताको विवरण मागेका छन् ।

उनले त्यसरी बदमासी गर्ने केन्द्रीय सदस्य, प्रदेश सदस्यहरूलाई कारबाही गर्नैपर्ने र यदि नगरिए पार्टी नबन्ने बताए ।

पार्टीमा अन्तरघात डरलाग्दोगरी भएको भन्दै चिन्ता प्रकट गरेका छन् । उनले प्रारम्भिक विवरणअनुसार ५० प्रतिशत नेता कार्यकर्ताहरू घण्टी अर्थात् रास्वपामा गएको जानकारी आएको बताए ।

उनले त्यसरी घण्टीमा जानेलाई आँखा चिम्लेर कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रचण्डको दल नेपाली कम्युनिस्ट पार्टी प्रतिनिसभामा १७ सिटसहित चौँथो दलीय हैसियतमा छ ।

२०६४ को संविधानसभा निर्वाचनमा भने प्रचण्डको त्यसबेलाको दल नेकपा माओवादी पहिलो दल बनेको थियो ।

२०७० मा तेस्रो, २०७४ मा एमाले र माओवादी मिल्दा पहिलो र २०७९ मा तेस्रो दल बनेको थियो ।

यसपटक झन् खिइँदै चौथो दल बन्दा प्रचण्डले पार्टी नेता भन्ने तर भोट अर्कै दलका उम्मेदवारलाई दिन नेताहरूमाथि कारबाहीको डण्डा चलाउने भएका हुन् ।

१५ औँ महाधिवेशनको तयारीमा जुट्न काङ्ग्रेस महामन्त्री घिमिरेको आह्वान

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको १५ औँ महाधिवेशनमा जुट्न पार्टीपंक्तिलाई आह्वान गरेका छन् । सभापति गगन थापाले राजीनामा दिएपछि आज बस्न लागेको केन्द्रीय समिति बैठकअघि महामन्त्री घिमिरेले यस्तो आह्वान गरेका हुन् ।

‘नेपाली कांग्रेससँग दिग्विजयी सिद्धान्त, गौरवपूर्ण इतिहास, अतुलनीय व्यक्तित्व भएका संस्थापक नेताहरू, सर्वाधिक त्याग र बलिदानको अटुट श्रृङखला, राष्ट्र निर्माणको सुस्पष्ट मार्गचित्र तथा सुनौलो भविष्य छ, त्यसका लागि अहोरात्र काम गर्न सक्ने आशालाग्दो नेतृत्व छ’ उनले भने। 

विगतका तीता प्रसङ्गहरूलाई विस्मृतिमा राखेर, पार्टीको आन्तरिक एकतालाई प्रवर्द्धन गर्दै अघि बढ्नु आजको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको उनले बताए ।

‘अब हामी निरर्थक एवं अनुत्पादक बहस छाडेर एकताबद्ध भई हाम्रो साझा दायित्वमा केन्द्रित बनौँ,’ घिमिरेले भने,’त्यसैले, पार्टीका सबै साथीहरूलाई विनम्र आग्रह छ, आजकै मितिबाट सम्पूर्ण एकताका साथ पार्टीको १५औँ महाधिवेशनको तयारीमा जुटौँ ।’

इरानमा सेना नपठाउने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार इरानमा सेना नपठाउने बताएका छन् । 

अमेरिका–इजरायल र इरानबीचको युद्ध चर्किँदै गएको बेला उनले यस्तो टिप्पणी गरेका हुन् । ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटका क्रममा ट्रम्पले यो कुरा बताएका हुन् । 

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमा ठूलो मात्रामा आक्रमण सुरु गरेका थिए । जसले विश्वव्यापी ढुवानीमा बाधा पु¥याएको छ, तेलको मूल्य बढाएको छ र विश्व अर्थतन्त्रलाई हल्लाएको छ । 

बेन्जामिन नेतान्याहूको पत्रकार सम्मेलन, भने ‘म ज्युँदै छु’

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो जिउदै भएको प्रमाण सार्वजनिक गर्न बिहीबार राति विशेष पत्रकार सम्मेलन गरे।

सामाजिक सञ्जालमा उनको मृत्युबारे व्यापक अफवाह फैलिन थालेपछि उनले प्रत्यक्ष उपस्थिती जनाउँदै ती सबै दाबी असत्य भएको स्पष्ट पारे।


पत्रकार सम्मेलनको सुरुवातमै उनले भने, ‘सबैभन्दा पहिले म भन्न चाहन्छु- म जिउँदै छु, र तपाईंहरू सबै यसको प्रत्यक्ष साक्षी हुनुहुन्छ। साथै, म सबै फेक न्युजको खण्डन गर्छु।’

गत १३ मार्चमा नेतन्याहुको X खाताबाट एउटा भिडियो सार्वजनिक भएको थियो, जसलाई धेरै प्रयोगकर्ताले ‘एआई-जेनरेटेड’ भन्दै शंका व्यक्त गरेका थिए। केहीले त उनी मृत्यु भइसकेको समेत प्रचार गरेका थिए।


यद्यपि, इजरायली प्रधानमन्त्री कार्यालयले उनीसँग सम्बन्धित सबै अफवाह झूटो भएको र प्रधानमन्त्री सकुशल रहेका जानकारी पहिले नै दिएको थियो।

पत्रकार सम्मेलनमा नेतन्याहुले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका र इजरायल आफ्नो रणनीतिक लक्ष्यतर्फ मजबुत रूपमा अघि बढिरहेकोसमेत उल्लेख गरे।