`

२ करोड घटे फेसबुक र इन्स्टाग्राम युजर ?

एजेन्सी। लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र इन्स्टाग्रामका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या करिब दुई करोडले घटेको छ।

फेसबुक र इन्स्टाग्राम फिडको खस्किँदो गुणस्तर, अत्यधिक विज्ञापन र दोहोरिने सामग्रीका कारण प्रयोगकर्ताहरू असन्तुष्ट बन्दै गएका छन्।

प्रयोगकर्ताहरू दिक्क मान्दै यी प्लेटफर्मबाट बाहिरिन थालेपछि मेटाले आफ्नो एल्गोरिदममा व्यापक परिवर्तन सुरु गरेको छ। समाचार अनुसार मेटाको उद्देश्य अब फेसबुक र इन्स्टाग्राममा मौलिक सामग्रीलाई प्राथमिकता दिनु रहेको छ।

प्रयोगकर्ताहरू किन असन्तुष्ट छन्

पछिल्लो समय फेसबुक तथा इन्स्टाग्राममा प्रयोगकर्ताहरूले फिड पहिलेजस्तो नभएको गुनासो गर्दै आएका छन्। फिडमा अत्यधिक विज्ञापन, प्रायोजित पोस्ट, बारम्बार दोहोरिने सामग्री र एल्गोरिदममा आधारित सिफारिस गरिएका पोस्टहरू धेरै देखिन थालेका छन्।

यसका कारण साथीहरू र फलो गरिएका अकाउन्टका पोस्ट कम देखिन थालेका छन्। धेरै प्रयोगकर्ताहरूको भनाइ अनुसार सामाजिक सञ्जाल अब सामाजिकभन्दा पनि एल्गोरिदमबाट सञ्चालित मनोरञ्जन प्लेटफर्म जस्तो बनेको छ।

विशेषज्ञहरूका अनुसार मेटाले प्रयोगकर्ता संलग्नता बढाउन सिफारिस गरिएका सामग्रीमा बढी ध्यान दिएको छ, तर यसले प्रयोगकर्ताको अनुभवमा नकारात्मक असर पारेको छ।

मेटाको आम्दानी मोडेल विज्ञापनमा आधारित भएकाले प्रायोजित विज्ञापन र प्रमोशनल सामग्रीको अत्यधिक प्रयोगले प्रयोगकर्तालाई झनै असन्तुष्ट बनाएको छ।

बढ्दो आलोचनापछि मेटाले अब आफ्नो सिफारिस एल्गोरिदममा परिवर्तन गर्ने तयारी गरेको छ। इन्स्टाग्राममा मौलिक कन्टेन्टलाई बढी प्राथमिकता दिइनेछ भने रिपोस्ट गरिएका र कम मौलिक सामग्रीको पहुँच घटाइनेछ।

कपी-पेस्ट गरिएका र नक्कल गरिएका अकाउन्टहरूको भिजिबिलिटी पनि कम गरिने बताइएको छ।

फेसबुकमा पनि कन्टेन्ट र्‍याङ्किङ र फिड डिस्प्ले प्रणाली सुधार गर्ने तयारी भइरहेको छ।

राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षसहित १९ जना पदमुक्त भएका छन्।

युवा तथा खेलकुद मन्त्रालयकी सहसचिव तथा प्रवक्ता मनिता श्रेष्ठका अनुसार परिषद्का उपाध्यक्ष ध्रुव आचार्यसहित १९ जना बोर्ड सदस्य पदमुक्त भएका हुन्।

तर आचार्यले यसअघि नै आफ्नो पदबाट राजीनामा दिइसकेका थिए।

सरकार भन्छ -‘पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन’

काठमाडौं । बजारमा इन्धनको मूल्य घटाउन सरकारमाथि चर्को दबाब बढिरहेका बेला सरकारले भने मूल्य घटाउने सम्भावना तत्काल नरहेको स्पष्ट पारेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले अन्तर्राष्ट्रिय आपूर्ति र मूल्य संरचनाका कारण सरकारले चाहेर पनि पेट्रोलियम पदार्थ सस्तो बनाउन नसक्ने बताएका हुन्।

मंगलबार संघीय संसदअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले इन्डियन आयल कर्पोरेशनले निर्धारण गरेको मूल्यअनुसार इन्धन खरिद गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे।

‘महँगोमा किन्ने र सस्तोमा बेच्ने अवस्था छ जसले गर्दा अघिल्लो सञ्चित नाफा पनि सकिइसकेको छ,’ उनले भने।

सरकारले हाल खाना पकाउने ग्यास र पेट्रोलजस्ता इन्धनमा अझै पनि घाटा व्यहोरेर बिक्री गरिरहेको दाबी गर्दै उनले पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गरिए मूल्य अझै बढ्ने चेतावनी दिए। उपभोक्तालाई थप मार नपरोस् भनेर नै सरकारले मूल्यलाई कृत्रिम रूपमा तल राखेर व्यवस्थापन गरिरहेको उनको भनाइ छ।

सचिव राउतका अनुसार लगातार घाटामा रहेको नेपाल आयल निगमले आफ्ना कर्मचारीलाई बोनस दिन सक्ने अवस्था पनि छैन। ‘तीन वर्षसम्म लगातार नाफा भए मात्रै बोनस वितरण गर्न पाइन्छ तर अहिले निगम नाफामा छैन,’ उनले स्पष्ट पारे।

‘लालीबजार’ फिल्मको सुनुवाइ वैशाख २३ गते हुने

काठमाडौं।  नेपाली फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ वैशाख २३ गते बुधवारका लागि सारिएको छ । 

उच्च अदालत पाटनका न्यान्याधीश गिता प्रसाद तिम्सिना तथा दीपक खनालको संयुक्त इजलासले सेन्सर बोर्डमार्फत सेन्सर कपी पेश गर्न आदेश दिएको छ । 

मंगलवार भएको सुनुवाइमा अदालतले यसअघि १५ वैशाखमा दिएको प्रदर्शन रोक्ने आदेशमा छलफल गर्दै सेन्सर बोर्डमार्फत सक्कल कपी मगाउँदै बुधवारलाई छलफलमा बोलाएको छ ।

महाराजधिराजमा ८० भन्दा बढी कलाकारले अभिनय गर्दै

काठमाडौं । फिल्म ‘महाराजधिराज’ को मंगलबार बिहान बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ। शंखध्वनि र पञ्चेबाजासहित सम्पन्न मुहूर्त कार्यक्रममा फिल्मका निर्देशक, मुख्य कलाकार तथा निर्माण टिम उपस्थित रहे। पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिग्देललगायत कलाकारहरूको विशेष सहभागिता थियो।

परिच्छेद सेनको निर्देशनमा बन्ने यो फिल्मको छायांकन यही शुक्रबारदेखि सुनसरीको श्रीलंका टापुबाट सुरू हुने बताइएको छ। टापुमा करिब एक हप्ता छायांकन चलेपछि फिल्म युनिट काठमाडौं, भक्तपुर र कीर्तिपुरका ऐतिहासिक तथा आकर्षक स्थानतर्फ सर्नेछ। कुल ७० दिन छायांकन योजना रहेको फिल्मका छायांकार नवराज थापा हुन्।

लामो समयदेखि तयारी गरिएको ‘महाराजधिराज’ सामाजिक परिवेशमा आधारित पिरियड ड्रामा भएको निर्देशक सेनले बताएका छन्। फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डी.सी. र सुशील सिटौलालगायत कलाकार अभिनय गर्नेछन्।

यसबाहेक हिउँवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटा लगायतका कलाकारहरू पनि फिल्ममा देखिनेछन्। करिब ८० कलाकार समेटिएको यो परियोजनामा कमल गाउँले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ र पूजा बुढालगायत कलाकारहरूको समेत अभिनय रहनेछ।

प्रस्तुतकर्ता विराज विष्टले बलियो कलाकार टोलीअनुसार नै उत्कृष्ट फिल्म निर्माण गर्ने विश्वास व्यक्त गरेका छन्। छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’मा निर्देशक सेनकै लेखन समावेश छ। 

निर्माण टोलीमा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्।

कार्ल मार्क्स र कम्युनिज्म

विश्वको प्रसिद्ध सञ्चार संस्था बीबीसीले इन्टरनेटमार्फत गरेको एक सर्वेक्षणले कार्ल मार्क्सलाई ‘पछिल्लो एक हजार वर्षको सर्वश्रेष्ठ विचारक’ को रूपमा चयन गरेको थियो। उक्त सर्वेक्षणले मार्क्सको विचारको प्रभाव अझै आगामी हजार वर्षसम्म कायम रहने निष्कर्ष निकालेको थियो। 

मार्क्सको जन्म भएको २०८ वर्ष र निधन भएको १४३ वर्ष पूरा भइसकेको छ। समयको यो लामो यात्रापछि पनि उनका विचारहरू जीवन्त,सान्दर्भिक र शक्तिशाली छन्।

विश्वभरि अझैपनि वर्गीय शोषण,सामाजिक न्यायको अभाव र असमानता विद्यमान छ। त्यसको समाधान खोज्ने हो भने मार्क्सको दर्शन अहिले पनि उत्तिकै मार्गदर्शक छ। उनी अझै दबिएका र उत्पीडित वर्गका लागि एउटा जीवित आशा र वैचारिक हतियार बनेका छन्।

कार्ल मार्क्स को थिए?

मार्क्स जर्मन अर्थशास्त्री, समाजशास्त्री र दार्शनिक थिए। उनको जन्म सन् १८१८ मे ५ मा ट्रियरमा भएको थियो। जुन त्यतिबेला प्रशियाको राइनल्यान्ड क्षेत्र अन्तर्गत पर्थ्यो। र सन् १८८३ मार्च १४ मा लन्डनमा उनको निधन भयो।

मार्क्सले १८४० को दशकको सुरुतिर कट्टरपन्थी पत्रकारको रूपमा आफ्नो करियर सुरु गरेपछि कम्युनिज्मप्रति आकर्षित भए। कम्युनिज्म भनेको उत्पादनका साधनहरू साझा स्वामित्वमा राखेर सार्वजनिक हितका लागि व्यवस्थापन गर्नुपर्छ भन्ने सिद्धान्त हो । उनले १९औं शताब्दीको युरोपमा यस विचारधाराका प्रमुख समर्थकको रूपमा आफूलाई स्थापित गरे। विशेष गरी सन् १८७१ को पेरिस कम्युनसँगको सम्बन्धका कारण उनी प्रसिद्ध बने। पेरिस कम्युन फ्रान्सेली सरकारविरुद्ध दुई महिनासम्म चलेको समाजवादी मजदुर वर्गको विद्रोह थियो।

सन् १८४८ का युरोपेली क्रान्तिहरू सिसिली, फ्रान्स, जर्मनी, इटाली र अस्ट्रियन साम्राज्यमा राजतन्त्रविरुद्ध भएका गणतान्त्रिक विद्रोहहरूपछि मार्क्स आफ्ना राजनीतिक विचारका कारण निर्वासनमा जान बाध्य भए। त्यसपछि उनी लन्डन गए, जहाँ उनले आफ्नो बाँकी जीवन बिताए। त्यहाँ उनले ब्रिटिश म्युजियमको रिडिङ रुममा अध्ययनमा धेरै समय बिताए।

उनी आर्थिक रूपमा कमजोर अवस्थामा थिए। र लामो समयसम्म गरिबीमा बाँच्नुपर्‍यो। उनका बौद्धिक सहकर्मी फ्रेडरिक एंगेल्सले म्यानचेस्टरस्थित आफ्नो बुबाको कपास मिलबाट प्राप्त आम्दानी प्रयोग गरी उनलाई नियमित आर्थिक सहयोग गरे।

मार्क्सको सबैभन्दा प्रसिद्ध कृति कम्युनिस्ट घोषणापत्र (१८४८) हो। जुन उनले एंगेल्ससँग मिलेर लेखेका थिए। 

कार्ल मार्क्सले के विश्वास गर्थे?  

मार्क्सका विश्वासहरू बुझ्नका लागि उन्नाइसौँ शताब्दीको युरोपको सामाजिक र आर्थिक अवस्थालाई ध्यान दिनु आवश्यक छ। त्यो समयमा औद्योगिक क्रान्ति तीव्र रूपमा अघि बढिरहेको थियो। नयाँ कारखाना प्रणालीले ठूलो मात्रामा उत्पादन सुरु गरे पनि कामदार वर्गलाई अत्यन्त कठिन अवस्थातर्फ धकेलेको थियो। उनीहरूले न्यून तलब, लामो कार्यघण्टा,असुरक्षित र अस्वास्थ्यकर वातावरणमा काम गर्नुपर्थ्यो। साथै, शहरी क्षेत्रहरूमा झुग्गी बस्ती र गरिबी तीव्र रूपमा बढिरहेको थियो।

मार्क्सलाई लाग्थ्यो यस्तो असमानता र शोषण लामो समयसम्म टिक्न सक्दैन। उनका अनुसार जब कामदार वर्ग लगातार गरिबी र कठिनाइमा पर्छ, तब उनीहरू अन्ततः आफ्ना मालिकहरू अर्थात् पूँजीपति वर्ग विरुद्ध असन्तुष्ट हुन्छन् र परिवर्तनको माग गर्छन्। समाजवादी विचारक र संगठनहरूले यस असन्तुष्टिलाई राजनीतिक चेतनामा बदल्नेछन् र कामदारहरूलाई यो बुझाउनेछन् कि उत्पादन नाफाका लागि होइन, मानव आवश्यकताका लागि हुनुपर्छ। यस प्रक्रियाले श्रमिक वर्गलाई प्रणाली परिवर्तनतर्फ अग्रसर गराउनेछ भन्ने मार्क्सको धारणा थियो।

मार्क्सले कल्पना गरेको परिवर्तन प्रायः क्रान्तिको रूपमा आउन सक्छ भन्ने उनको प्रारम्भिक विश्लेषण थियो। यस्तो क्रान्तिपछि ‘सर्वहाराको तानाशाही’ भन्ने चरण सुरु हुनेछ। यस चरणमा श्रमिक वर्गको प्रतिनिधित्व गर्ने सरकार गठन हुनेछ, जसले अर्थतन्त्रलाई व्यवस्थित गर्नेछ। उत्पादनका साधनहरू जस्तै कारखाना, बैंक, यातायात र जमिन निजी स्वामित्वबाट हटाएर सार्वजनिक स्वामित्वमा ल्याइनेछन्। त्यसपछि राज्यले योजनाबद्ध रूपमा उत्पादन र वितरण गर्नेछ, जसले जनताको आवश्यकता अनुसार वस्तुहरूको आपूर्ति सुनिश्चित गर्नेछ।

मार्क्सका अनुसार यो चरण स्थायी हुँदैन। समयसँगै जब आर्थिक असमानता घट्दै जान्छ। र वर्गीय विभाजन समाप्त हुँदै जान्छ। राज्यको भूमिका पनि क्रमशः कमजोर हुँदै जान्छ। अन्ततः राज्य आफैं हराउने अवस्था आउँछ। किनकि वर्गीय शोषण नियन्त्रण गर्न राज्य आवश्यक रहँदैन।

दीर्घकालीन विकास प्रक्रियापछि मार्क्सले कल्पना गरेको अन्तिम अवस्था ‘साम्यवादी समाज’ हो। यस्तो समाजमा निजी सम्पत्ति र वर्ग विभाजन धेरै हदसम्म समाप्त हुन्छ। 

उत्पादनका साधनहरू सामूहिक रूपमा प्रयोग हुन्छन् र उत्पादन जनताको आवश्यकता अनुसार गरिन्छ। यस अवस्थामा शोषण, जबरजस्ती श्रमको प्रयोग र आर्थिक असमानता जस्ता समस्याहरू न्यून वा समाप्त हुनेछन् भन्ने उनको विश्वास थियो।

मार्क्सले आफ्ना विचारहरू कसरी विकास गरे?

मार्क्सले आफ्ना विचारहरू एकैचोटि निर्माण गरेका होइनन्। उनका सिद्धान्तहरू लामो अध्ययन, अघिल्ला विचारकहरूको प्रभाव र युरोपको औद्योगिक समाजको गहिरो विश्लेषणबाट क्रमशः विकसित भएका हुन्। विशेषगरी उन्नाइसौँ शताब्दीको सुरुवाततिरका समाजवादी विचारकहरूको लेखनले उनलाई प्रारम्भिक दिशा दिएको थियो। रोबर्ट ओवेन, चार्ल्स फुरियर र हेनरी द सेन्ट सिमोन जस्ता विचारकहरूले पुँजीवादी प्रणालीलाई आलोचना गर्दै साझा स्वामित्व र सामूहिक व्यवस्थापनमा आधारित समाजको आवश्यकता औँल्याएका थिए। यिनै विचारहरूले मार्क्सलाई पनि पुँजीवादको विकल्प खोज्न प्रेरित गर्‍यो।

सन् १८४५ तिर आइपुग्दा मार्क्स लगभग पूर्ण रूपमा यो निष्कर्षमा पुगे कि पुँजीवाद केवल आर्थिक प्रणाली मात्र होइन, तर असमानता उत्पादन गर्ने संरचना पनि हो। उनका अनुसार पुँजीवाद प्रतिस्पर्धा, नाफा र प्राविधिक विकासमा आधारित भए पनि यसले बारम्बार आर्थिक संकट सिर्जना गर्छ। यस्ता संकटहरूमा धन केही व्यक्तिहरूको हातमा केन्द्रित हुँदै जान्छ, जसले समाजमा असमानता अझ बढाउँछ। यही कारणले पुँजीवाद दीर्घकालीन रूपमा स्थिर हुन सक्दैन भन्ने उनको विश्वास थियो।

मार्क्सका प्रारम्भिक प्रमुख लेखहरू जस्तै ‘१८४४ का पेरिस पाण्डुलिपिहरू’ र ‘१८४५-४६ को जर्मन विचारधारा’ उनको विचार विकासका महत्वपूर्ण चरण हुन्। यी कृतिहरू उनको जीवनकालमा व्यापक रूपमा प्रकाशित भएनन्, तर पछि बीसौँ शताब्दीमा मात्र सार्वजनिक गरिए। विशेषगरी १९३० को दशकमा सोभियत अनुसन्धानकर्ताहरूले यी लेखहरू पूर्ण रूपमा प्रकाशित गरेपछि मात्र विश्वभर उनका प्रारम्भिक विचारहरू गहिरो रूपमा अध्ययन हुन थाले।

‘१८४४ का पेरिस पाण्डुलिपिहरू’ मा मार्क्सले कामदारको ‘अलिनेसन’ अर्थात् अलगावको अवधारणा विस्तारमा प्रस्तुत गरेका छन्। उनका अनुसार पुँजीवादी उत्पादन प्रणालीमा कामदार आफ्नै श्रमबाट, आफ्नै उत्पादनबाट, अन्य कामदारबाट र अन्ततः मानव अस्तित्वको सारबाट समेत टाढा हुँदै जान्छ। यसलाई उनले ‘प्रजाति अस्तित्व’ भन्ने अर्थमा व्याख्या गरेका छन्। जसले मानिसको सामाजिकता, सहकार्य र सृजनशीलतालाई जनाउँछ।

तर पछि ‘जर्मन विचारधारा’ मा आइपुग्दा मार्क्सले आफ्नो दृष्टिकोण परिवर्तन गर्दै ‘प्रजाति अस्तित्व’ को दार्शनिक अवधारणालाई त्यागे। त्यसको सट्टा उनले समाजलाई उत्पादन प्रणालीको आधारमा बुझ्नुपर्ने बताए। उनका अनुसार इतिहास विभिन्न उत्पादन प्रणालीहरूको क्रमिक विकास हो, र पुँजीवाद त्यसैको एउटा आधुनिक चरण हो। यस चरणमा कामदारहरूबीच सहकार्य त हुन्छ। तर त्यो सहकार्य उत्पादन प्रक्रियाभित्र सीमित र नियन्त्रित हुन्छ।

पछिल्ला वर्षहरूमा मार्क्सले ‘अलिनेसन’ को अवधारणालाई पूर्ण रूपमा केन्द्रमा नराखे पनि यसको प्रभावपूर्ण आलोचना भने जारी राखे। उनले पुँजीवादले कामदारको व्यक्तित्वलाई टुक्र्याउने, उसलाई केवल मेसिनको एउटा भागजस्तै बनाउने र मानव गरिमालाई कमजोर बनाउने तर्क गरे। उनका अनुसार यान्त्रिकीकरण र औद्योगिकीकरणले कामदारलाई केही फुर्सद दिन सक्छ, तर त्यो स्वतन्त्रता होइन, बरु संरचनात्मक निर्भरता हो।

उनको सबैभन्दा महत्वपूर्ण कृति ‘क्यापिटल’ (१८६७) मा उनले पुँजीवादी प्रणालीको गहिरो विश्लेषण प्रस्तुत गरे। यसमा उनले लेखेका छन् कि पुँजीवादले कामदारलाई सम्पूर्ण मानवको रूपमा होइन, केवल उत्पादन प्रक्रियाको एउटा अंशको रूपमा व्यवहार गर्छ। यसले मानव श्रमलाई वस्तुमा रूपान्तरण गर्छ र श्रमिकलाई आफ्नै सिर्जनाबाट अलग गर्छ।

यसरी कार्ल मार्क्सका विचारहरू प्रारम्भिक समाजवादी प्रभाव, युरोपेली औद्योगिक अनुभव र निरन्तर वैचारिक पुनर्विचारको प्रक्रियाबाट विकसित भएका हुन्। उनका विचारहरू स्थिर नभई समयसँगै परिष्कृत हुँदै गएका थिए।  जसले उनलाई आधुनिक समाजशास्त्र र राजनीतिक अर्थशास्त्रका सबैभन्दा महत्वपूर्ण चिन्तकहरूमध्ये एक बनाएको छ।

२०औँ शताब्दीमा कम्युनिज्म 

२०औँ शताब्दीको सुरुतिर मार्क्सवादका धेरै प्रकारका व्याख्या र धाराहरू अस्तित्वमा थिए। तीमध्ये सबैभन्दा प्रभावशाली धारा जर्मनीको सोसियल डेमोक्रेटिक पार्टी (एस.डी.पी.)सँग सम्बन्धित थियो। यस पार्टीभित्र रहेका ‘सुधारवादी’ विचारकहरू, विशेष गरी एडुआर्ड बर्नस्टाइन, कार्ल मार्क्सका केही मुख्य निष्कर्षहरूसँग असहमत थिए। उनीहरूले मार्क्सले भनेझैँ पुँजीवाद अनिवार्य रूपमा ठूलो क्रान्ति र विनाशतर्फ जान्छ भन्ने विचारलाई अस्वीकार गरे। उनीहरूको धारणा थियो कि पुँजीवादी प्रणालीलाई क्रमिक सुधार, कानुनी परिवर्तन र मतदानमार्फत शान्तिपूर्ण रूपमा सुधार गर्न सकिन्छ।

तर त्यही समयमा रूसमा १९१७ को बोल्सेभिक क्रान्तिले मार्क्सवादी विचारलाई फरक दिशामा लैजान थाल्यो। भ्लादिमिर लेनिनको नेतृत्वमा बोल्सेभिकहरूले अन्तरिम सरकारलाई हटाएर श्रमिक वर्गको नाममा सत्ता कब्जा गरे। लेनिनको विचारमा एउटा अनुशासित र केन्द्रित क्रान्तिकारी पार्टीले राज्यसत्ता नियन्त्रण गर्न सक्छ। तर सत्ता जोगाउन र क्रान्ति अघि बढाउन निर्णय शक्ति पार्टीभित्र अत्यन्त केन्द्रित हुनुपर्छ। यसले व्यवहारमा सत्ता केही नेताहरूको हातमा केन्द्रित हुने बाटो खोल्यो।

लेनिनको मृत्युपछि सन् १९२४ मा जोसेफ स्टालिन सत्तामा उदाए। उनले क्रमशः सोभियत संघमा एकदलीय नियन्त्रण मजबुत बनाए र विरोधीहरूलाई दबाउने नीति अपनाए। १९३० को दशकमा स्टालिनको नेतृत्वमा ‘पर्ज’ भनिने अभियान चलाइयो जसमा राज्यका सम्भावित शत्रु ठानिएका लाखौँ मानिसहरूलाई पक्राउ, निर्वासन वा मृत्युदण्ड दिइयो। यस अवधिमा ठूलो संख्यामा मानिसहरू गुलाग भनिने जबरजस्ती श्रम शिविरमा पठाइए। ऐतिहासिक अनुमानहरू अनुसार लाखौँ मानिसहरूको मृत्यु भएको देखिन्छ यद्यपि ठ्याक्कै संख्या अझै विवादित छ।

यस्तै प्रकारका अत्यन्त कठोर नीतिहरू चीनमा पनि देखिए। जहाँ सन् १९४९ पछि माओ त्से-तुङको नेतृत्वमा कम्युनिस्ट शासन स्थापना भयो। विशेषगरी ‘ग्रेट लिप फर्वर्ड’ (१९५८–१९६१) कार्यक्रमका क्रममा कृषि र उद्योगलाई तीव्र रूपमा रूपान्तरण गर्ने प्रयास गर्दा ठूलो मानवीय संकट उत्पन्न भयो र लाखौँ मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ।

यसै सन्दर्भमा यी सबै घटनाहरूका लागि कार्ल मार्क्स जिम्मेवार थिए? भन्ने प्रश्न उठ्छ। मार्क्सका सिद्धान्तहरूले पूँजीवादको आलोचना, वर्ग संघर्षको अवधारणा र क्रान्तिको सम्भावना प्रस्तुत गरे जसले पछि धेरै क्रान्तिकारी आन्दोलनहरूलाई वैचारिक आधार दियो। त्यस अर्थमा उनका विचारहरूले २०औँ शताब्दीको कम्युनिज्मको प्रसारमा गहिरो प्रभाव पारेको मानिन्छ। तर स्टालिनवाद वा माओवादजस्ता अत्यन्त केन्द्रीकृत, दमनकारी र हिंसात्मक शासन प्रणालीहरू मार्क्सले प्रत्यक्ष रूपमा कल्पना गरेका थिएनन्।

मार्क्सले वर्गविहीन, शोषणरहित र राज्य अन्ततः कमजोर हुँदै जाने समाजको परिकल्पना गरेका थिए। तर व्यवहारमा उनका विचारहरू विभिन्न ऐतिहासिक, राजनीतिक र शक्ति संघर्षका कारण फरक तरिकाले व्याख्या र प्रयोग गरिए। त्यसैले मार्क्सलाई यी सबै घटनाहरूको प्रत्यक्ष जिम्मेवार भन्न सकिँदैन तर उनका सिद्धान्तहरू केही राजनीतिक प्रयोगहरूका लागि वैचारिक आधार बने भन्ने कुरा भने स्वीकार गरिन्छ। 

नेपाल र मार्क्सवाद

नेपालमा पनि मार्क्सवादको प्रवेश बीसौँ शताब्दीको मध्यतिर भयो । नेपाल कम्युनिस्ट पार्टी को गठनपछि मार्क्सवादी विचारहरू राजनीतिक बहस र आन्दोलनमा सक्रिय रूपमा प्रवेश गरे। सुरुमा यी विचारहरू विशेषगरी गरिबी, भूमि असमानता र श्रमिक तथा किसानका समस्यासँग जोडिएका थिए। ग्रामीण समाजमा रहेका असमान संरचनाहरूलाई चुनौती दिने वैचारिक आधारका रूपमा मार्क्सवाद प्रयोग गरियो। 

नेपालको राजनीतिक इतिहासमा मार्क्सवादले विभिन्न रूप लिएको छ। कहिले यो सशस्त्र संघर्षको आधार बनेर माओवादी जनयुद्ध मा प्रयोग भयो। भने कहिले संसदीय लोकतन्त्रभित्र प्रवेश गरेर राजनीतिक दलहरूको वैचारिक आधार बन्यो। २०६२/६३ को राजनीतिक परिवर्तनपछि मार्क्सवादी विचारधारा बोकेका दलहरू पूर्ण रूपमा लोकतान्त्रिक प्रणालीभित्र समाहित भए।

नेपालका प्रमुख कम्युनिस्ट नेताहरूमा मदन भण्डारी, मनमोहन अधिकारी, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत धेरै नेताहरू पर्छन्। यी नेताहरूले फरक-फरक समयमा र फरक-फरक ढंगले मार्क्सवादलाई नेपाली राजनीतिमा व्याख्या गर्ने गरेका छन्। यसले मार्क्सवादलाई नेपालमा व्यवहारिक राजनीतिक विचारधाराको रूपमा स्थापित गर्न खोजेको जस्तो देखिन्छ। 

मार्क्सवादको मूल मान्यता उत्पादनका साधनहरूको सामूहिक स्वामित्व हो। तर नेपालमा भने मिश्रित अर्थतन्त्र रहेको छ। जहाँ निजी क्षेत्र, सरकारी क्षेत्र र सहकारी क्षेत्र सँगसँगै सञ्चालनमा छन्। कम्युनिस्ट दलहरूले पनि व्यवहारमा निजी सम्पत्ति पूर्ण रूपमा समाप्त गर्ने नीति अपनाएका छैनन्। बरु सामाजिक न्याय र राज्यको भूमिकामा जोड दिएका छन्।

नेपालमा मार्क्सवादको प्रभाव विशेषगरी भूमि सुधार, श्रमिक अधिकार, सामाजिक समानता र राज्यको भूमिकाबारे बहसमा स्पष्ट देखिन्छ। तर यसको व्यवहारिक प्रयोग राजनीतिक प्रतिस्पर्धा, सत्ता संघर्ष र गठबन्धन प्रणालीसँग मिसिएर फरक रूप लिएको छ। 

नेपालमा पूर्ण रूपमा मार्क्सवादी आर्थिक प्रणाली लागू छैन। तर सामाजिक न्याय र समानताको बहसमा यसको प्रभाव स्पष्ट देखिन्छ। 

मार्क्स आज पनि उतीकै सान्दर्भिक छन्?

मार्क्सले समाज र अर्थतन्त्रलाई बुझ्ने नयाँ दृष्टिकोण प्रस्तुत गरे। उनले पुँजीवादलाई इतिहासको एउटा चरणको रूपमा हेरेका थिए। यही कारणले उनका विचारहरू आज पनि अर्थतन्त्र, राजनीति र समाज अध्ययनमा महत्वपूर्ण मानिन्छन्। 

उनका अनुसार पुँजीवादी प्रणालीमा नाफा नै मुख्य उद्देश्य हुन्छ। जसले कहिलेकाहीँ मानव र वातावरणीय आवश्यकताभन्दा माथि प्राथमिकता पाउन सक्छ।

अन्ततः उनका विचारहरूले समाजमा रहेको असमानता, शोषण र भविष्यका चुनौतीहरूबारे सोच्न प्रेरित गर्छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या हालसम्म ३ हजार १ सय ११ (तस्वीरहरु)

काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको विवरण संकलन कार्य तीव्र पारिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या हालसम्म ३ हजार १ सय ११ पुगेको छ।

बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले वैशाख १२ गतेदेखि संयुक्त रूपमा रंगशालामा बसेर प्रभावित परिवारहरूको तथ्यांक संकलन गरिरहेका छन्। रंगशालाको पश्चिमतर्फ छुट्टाछुट्टै डेस्क स्थापना गरी परिवारहरूलाई फारम भर्न लगाउने तथा आवश्यक विवरण संकलन गर्ने काम भइरहेको छ।

प्रभावित नागरिकहरूको आधारभूत आवश्यकता सम्बोधन गर्न विभिन्न सहायक सेवाहरू पनि सञ्चालनमा ल्याइएको छ। रंगशालाभित्र स्वास्थ्य परीक्षण, खानपानको व्यवस्था तथा राष्ट्रिय परिचयपत्र बनाउने सेवा उपलब्ध गराइएको छ। यी सबै व्यवस्थापन तथा समन्वयको जिम्मेवारी काठमाडौं महानगरपालिकाले सम्हालिरहेको छ।

श्रेष्ठसहित ३० बढी पक्राउ

काठमाडौं। चितवन, कैलाली, झापा, सुनसरी, बाँके, उदयपुर, तनहुँ, बर्दिया र धनकुटा लगायत विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष कारबाहीमा लागूऔषध सहित ३० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्।

चितवनको भरतपुर महानगरपालिका-११ कमलादेवीमाई टोलबाट करिब २ सय ग्राम गाँजा सहित ३७ वर्षीय अन्सु श्रेष्ठ पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट भोजाडबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

यस्तै भरतपुर–१५ शान्ति चोकबाट ३२ वर्षीय रूपेश लामा खैरो हेरोइन जस्तो देखिने ५ ग्राम २ सय ६० मिलिग्राम पदार्थ, डिजिटल तराजु र नगद सहित पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका-८ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जना पक्राउ परेका छन् भने झापाको भद्रपुर, मेचीनगर र अन्य स्थानबाट पनि ब्राउनसुगर र खैरो हेरोइन सहित ६ जना पक्राउ परेका छन्।

सुनसरीको देवानगञ्ज र धरान क्षेत्रमा लागूऔषध सहित ३ जना पक्राउ परेका छन्। बाँकेको नेपालगन्जमा पनि ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन्।

उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा ट्रामाडोल र डाइक्लोमाइन सहित ३ जना पक्राउ परेका छन्। तनहुँको व्यास नगरपालिका क्षेत्रमा २७ वर्षीय ईनाम गुरुङ लागूऔषध सहित पक्राउ परेका छन्।

बर्दियाको गुलरिया र अन्य स्थानमा ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् भने धनकुटाको हिलेबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार सबै घटनामा अनुसन्धान जारी रहेको छ। केही फरार व्यक्तिहरूको खोजी कार्य पनि तीव्र पारिएको छ।

नेपालसँग ओमान ८१ रनले पराजित

काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले ओमानलाई पराजित गर्दै शानदार जीत हात परेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेलमा नेपाल ८१ रनले विजयी भयो।

पहिले ब्याटिङ गरेको नेपालले ५९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रनको योगफल खडा गर्‍यो। नेपाली जितमा आसिफ शेखले उत्कृष्ट ९४ रन जोडे भने गुल्सन झाले धारिलो बलिङ गर्दै ५ विकेट खसाले।

२५७ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ३९.५ ओभरमै १७५ रनमा अल–आउट भयो। बलरेखा र नियन्त्रणमा चम्किएका गुल्सनको प्रभावकारी स्पेलले ओमानलाई दबाबमा राखेर नेपाललाई सहज जित दिलायो।

१७ महिलासहित ३० जना पक्राउ : ६ होटलका सञ्चालकविरुद्ध मुद्दा

धनगढी। धनगढीमा होटल सञ्चालनको आडमा अनैतिक गतिविधि गराएको आरोपमा ६ वटा होटलका सञ्चालकविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ। शुक्रबार प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले धनगढीका विभिन्न स्थानमा रहेका होटलहरूमा छापा हानेर ३० जनालाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा परेकामध्ये होटलका कर्मचारी र ग्राहकलाई आवश्यक सोधपुछपछि छाडिएको छ भने होटल सञ्चालकविरुद्ध मानव बेचबिखन तथा अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार किटानी जाहेरी परेका होटल सञ्चालकविरुद्ध मानव बेचबिखनको मुद्दा र जाहेरी नपरेकाको हकमा तत्काल अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरिएको हो।

अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका १, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा हानिएको थियो। सो क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको तथा त्यस्तो कार्य गर्न प्रेरित गरेको अभियोगमा १७ महिला र १३ पुरुष गरी ३० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ब्ल्याक स्टोन कटेजबाट ७ जना, सम्झना होटलबाट ४ जना, एएम एण्ड ए होटलबाट ५ जना, प्रिन्स होटलबाट ५ जना, कर्णाली होटलबाट ६ जना र एभरेष्ट होटलबाट ३ जना नियन्त्रणमा परेका थिए।

यी सबै होटलका सञ्चालकविरुद्ध मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पाँच होटलका सञ्चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने ब्ल्याक स्टोन कटेजका सञ्चालक फरार रहेका छन्। फरार सञ्चालकको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

हर्क सम्पाङ र सुदन किराँतीबीच हुने भनिएको एकता भंग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रलोपा नेता सुदन किराँतीसँग गर्ने भनेको एकता भङ्ग गरेका छन्। 

साम्पाङ र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) छोडेका नेता किराँती भनिएको एकता प्रक्रिया अन्तिम चरणमै आएर रोकिएको हो । समायोजनका सबै खाका तयार भइसकेको अवस्थामा श्रम संकृतिका अध्यक्षले एकतर्फी रूपमा सहमति भंग गरेपछि किराँती अलग राजनीतिक अभियानका लागि निकटवर्तीसँग गम्भीर छलफलमा जुटेका छन्।

दुवैबीच २१ फागुनमा, चुनावअघि नै सहकार्य भएको थियो। २०७९ को चुनावमा भोजपुरबाट प्रतिनिधिसभा सदस्य बनेका किराँती प्रचण्ड नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए। राई धरान मेयर हुँदा विमानस्थल विषयमा केही विवाद भए पनि चुनावको मुखमा उनीहरूबीच एकअर्कालाई सहयोग गर्ने समझदारी बनेको थियो।

प्रलोपाबाट राजीनामा दिएपछि किराँती राई एकता प्रक्रिया तीव्र बन्यो । करिब दुई महिनाअघि दुवै पक्षले तीन तीन सदस्यीय वार्ता टोली पनि गठन गरे । वार्ताबाट किराँतीलाई श्रम संस्कृतिको वरिष्ठ उपाध्यक्ष, दुई उपमहासचिव, एक सचिव र १५ केन्द्रीय सदस्य दिने सहमति बनिसकेको थियो। सहमतिमा कलाकार दयाहाङ राई र गायक राजेशपायल राई साक्षी बसेका थिए।

तर सहमति सार्वजनिक हुन नपाउँदै राईले वार्ता टोली भंग गर्दै संयोजकलाई उपाध्यक्षमा मनोनयन गरे, जसलाई किराँती पक्षले सहमतिको खुला उल्लङ्घन मानेको छ।

वार्ता टोली गठन गर्नुअघि दुवै नेताबीच विधान संशोधन, पार्टी व्यवस्थापन, केन्द्रले नीति बनाएर मातहत समितिमा हस्तक्षेप नगर्ने जस्ता स्पष्ट सहमतिहरू बनेका थिए। तर वार्ता टोली भंग भएपछि हर्क पक्षसँग दूरी बढेको र एकता अब ठप्प भएको नेताहरूले बताएका छन्।

युएईको आक्रमणमा तीन भारतीय घाइते भएपछी भारत उग्र

काठमाडौं। संयुक्त अरब इमिरेट्सको फुजैराह क्षेत्रमा भएको आक्रमणप्रति भारतले कडा आपत्ति जनाएको छ। भारतले उक्त आक्रमणलाई ‘पूर्णतः अस्वीकार्य’ भन्दै यस्ता गतिविधि तत्काल रोक्न माग गरेको हो।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आक्रमणमा तीन भारतीय नागरिक घाइते भएको पुष्टि गर्दै घटनालाई गम्भीर रूपमा लिइएको उल्लेख गरिएको छ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका छन्, ‘यो पूर्णतः अस्वीकार्य छ। हामी यस्ता आक्रमणहरू तत्काल बन्द गर्न र सर्वसाधारण नागरिक तथा उनीहरूका अत्यावश्यक संरचनामाथि लक्षित आक्रमण नगर्न आग्रह गर्दछौं।’

जयसवालका अनुसार भारतले पश्चिम एसियामा शान्ति र स्थिरता कायम गर्न सधैं वार्ता र कूटनीतिक उपायलाई समर्थन गर्दै आएको छ। उनले अन्तर्राष्ट्रिय कानुनअनुसार होर्मुज जलडमरूमध्य हुँदै हुने ढुवानी तथा व्यापार निर्बाध रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।

यसअघि युएईको रक्षा मन्त्रालयले सोमबार इरानबाट प्रहार गरिएका केही क्षेप्यास्त्रहरू आफ्नो रक्षा प्रणालीले अवरोध गरेको दाबी गरेको थियो। उक्त घटनामा तीन जना घाइते भएको विवरण सार्वजनिक गरिएको छ।

रास्वपा सांसद कार्कीको बालेनलक्षित कटाक्ष : ‘ऐलानी जग्गामा बस्ने नागरिक अपराधी होइनन्’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले भूमि आयोगबाट भएका कामहरू अब बन्ने संयन्त्रले अगाडि बढाउनुपर्ने बताएका छन्।

सरकारले हालै अध्यादेशमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बनेको भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयप्रति प्रतिक्रिया जनाउँदै उनले भूमि आयोग खारेज भए पनि त्यसले गरिरहेका कामहरूले निरन्तरता पाउनुपर्ने बताएका हुन्।

‘भूमि आयोग खारेज भए पनि भूमि आयोगबाट भएका कामहरू अब बन्ने संयन्त्रले स्वामित्व लिएर त्यहाँबाट नै अगाडि बढ्ने छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

साथै उनले ऐलानी जग्गामा बस्ने नागरिक अपराधी नभएर वास्तविक पीडित भएको पनि जिकिर गरेका छन्। रास्वपा सांसद केपी खनाल लगायत अन्य केही सांसदको ऐलानी जग्गामा घर रहेको प्रकरण बाहिरिएपछि उनले यस्तो बताएका हुन्। उनका अनुसार फर्जी सुकुम्बासी कारबाहीको विषय भए पनि ऐलानी जग्गामा बस्ने नागरिक अपराधी होइनन्।

उनले अगाडि लेखेका छन्, ‘जानकारीका लागि, फर्जी सुकुम्बासी भने कानुनी कारबाहीको विषय हो। तर ऐलानी जग्गामा बस्नेहरू वर्षौँदेखिका पीडित हुन्, अपराधी होइनन्।’

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति सक्रिय, जेठ पहिलो सातादेखि बचत फिर्ता सुरु हुने (तस्वीरहरू)

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २०८३ वैशाख ९ गतेदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको जनाएको छ। हाल समस्याग्रस्त घोषित सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ बचत फिर्ता हुन बाँकी रहेको समितिले जानकारी दिएको छ।
समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार समस्याग्रस्त सहकारीहरूको समस्या पहिचान, समाधान र व्यवस्थापनका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। यस अवधिमा ऋण असुली, बचत मिलान, आन्तरिक संरचना पुनःसंरचना, सरोकारवालासँग छलफल तथा कार्ययोजना निर्माणका कामहरू निरन्तर अघि बढाइएको समितिले जनाएको छ।
समितिले बचतकर्ताहरूलाई आफ्नो कार्यशैलीबारे जानकारी गराउँदै आगामी योजना पनि सार्वजनिक गरेको छ। सो अनुसार मागदाबी गरेका बचतकर्ताहरूको बचत फिर्ता गर्ने कार्य आगामी जेठ महिनाको पहिलो साताबाट सुरु गरिनेछ।
त्यसैगरी, मागदाबी गर्न छुटेका बचतकर्ताहरूका लागि पुनः आवेदन दिने अवसर आगामी साउनको पहिलो सातामा खुला गरिने जनाइएको छ। बचत मिलान प्रक्रियालाई वैज्ञानिक र न्यायपूर्ण बनाउने उद्देश्यले नयाँ कार्यविधि निर्माण गरिने समितिको भनाइ छ।
समितिले बचतकर्ताहरूलाई आफ्नो कार्यशैलीबारे जानकारी गराउँदै आगामी योजना पनि सार्वजनिक गरेको छ। सो अनुसार मागदाबी गरेका बचतकर्ताहरूको बचत फिर्ता गर्ने कार्य आगामी जेठ महिनाको पहिलो साताबाट सुरु गरिनेछ।
त्यसैगरी, मागदाबी गर्न छुटेका बचतकर्ताहरूका लागि पुनः आवेदन दिने अवसर आगामी साउनको पहिलो सातामा खुला गरिने जनाइएको छ। बचत मिलान प्रक्रियालाई वैज्ञानिक र न्यायपूर्ण बनाउने उद्देश्यले नयाँ कार्यविधि निर्माण गरिने समितिको भनाइ छ।
समितिले कर्जा असुलीलाई प्राथमिकतामा राख्दै कानुनअनुसार कडाइका साथ अघि बढ्ने स्पष्ट पारेको छ। किस्ताबन्दीमा कर्जा तिर्न लिखित प्रतिबद्धता जनाउने ऋणीलाई भने निश्चित समयसीमा उपलब्ध गराइनेछ।
ऋण असुली प्रभावकारी बनाउन दबाबमूलक उपायहरू समेत अपनाइने जनाइएको छ। यसअन्तर्गत ऋणीहरूको तीन पुस्तेसम्मको नामावली सार्वजनिक गर्ने र परिवारका सदस्यहरूलाई समेत कालोसूचीमा राख्ने व्यवस्था लागू गरिने उल्लेख गरिएको छ।
समितिले गुनासो व्यवस्थापन र सूचना प्रवाहलाई नियमित बनाउने बताउँदै आफ्नो कार्यसम्पादन अझ प्रभावकारी बनाउन विज्ञ तथा सचेत नागरिकसँग सुझाव र सहयोगको अपिल गरेको छ।
 

धुम्रपान गर्नुहुन्छ? सावधान! यस्ता छन् असरहरु

काठमाडौं। धेरै मानिसलाई धुम्रपानका हानिकारक असरबारे थाहा हुँदाहुँदै पनि निकोटिन को लतका कारण उनीहरू यसबाट टाढा रहन सक्दैनन्। बढ्दो तनाव, सामाजिक प्रभाव र गलत बानीका कारण धुम्रपान विश्वव्यापी रूपमा फैलिएको गम्भीर समस्या बनेको छ।

धुम्रपानमा पाइने निकोटिनले मस्तिष्कमा तुरुन्त प्रभाव पार्दै अस्थायी सन्तुष्टि दिने अनुभूति गराउँछ। यही कारण मानिसले बारम्बार चुरोट सेवन गर्न थाल्छ र क्रमशः लत बस्दै जान्छ। समयसँगै शरीर निकोटिनमा निर्भर बन्ने भएकाले धुम्रपान छोड्न निकै कठिन हुन्छ।

धुम्रपानले स्वास्थ्यमा गम्भीर असर पार्छ। चुरोटको धुवाँमा रहेका विषाक्त पदार्थहरूले फोक्सोका कोषहरू नष्ट गर्छन्, जसले गर्दा फोक्सोको क्यान्सर हुने जोखिम अत्यधिक बढ्छ। साथै, दीर्घकालीन खोकी, दम र सास फेर्न गाह्रो हुने समस्या देखिन्छ।

यसले रगतमा कोलेस्ट्रोल बढाउने र रक्तनलीहरू साँघुरा बनाउने काम गर्छ। त्यसका कारण मुटुरोग, उच्च रक्तचाप र हृदयघातको सम्भावना बढ्छ।

धुम्रपान गर्ने व्यक्तिको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ। त्यसैले सामान्य संक्रमणदेखि गम्भीर रोगसम्म लाग्ने जोखिम बढ्छ, र मधुमेह तथा मोतिबिन्दु जस्ता समस्याहरू पनि देखिन सक्छन्।

धुम्रपानले छालाको प्राकृतिक चमक हराउँछ। छाला फुस्रो, पहेँलो र चाउरी पर्ने हुन्छ, जसले मानिसलाई समयभन्दा अघि बुढो देखिन बाध्य बनाउँछ।

यसले दाँत पहेँलो बनाउने, गिजा बिगार्ने र मुखमा घाउ (अल्सर) गराउने गर्छ। लामो समयसम्म सेवन गर्दा हड्डी कमजोर हुने समस्या पनि देखिन्छ।

महिलाहरूमा धुम्रपानले प्रजनन स्वास्थ्यमा असर पार्छ। महिनावारी अनियमित हुने, बाँझोपनको जोखिम बढ्ने तथा गर्भावस्थामा भ्रूणको विकासमा समस्या ल्याउने सम्भावना रहन्छ।

धुम्रपान गर्ने गर्भवती महिलामा शिशुको समयपूर्व जन्म वा मृत्युको जोखिम पनि उच्च हुन्छ।

धुम्रपानले मानसिक र यौन स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्छ। यसले तनाव कम गर्ने होइन, बरु दीर्घकालीन रूपमा थकान, टाउको दुखाइ र मानसिक तनाव बढाउँछ।

नियमित धुम्रपान गर्नेहरूमा यौन दुर्बलताको समस्या पनि देखिन सक्छ।

विभिन्न अध्ययनका अनुसार धुम्रपान गर्ने व्यक्तिको आयु औसतभन्दा करिब ८ वर्ष कम हुन्छ।

त्यसैले, धुम्रपानलाई सामान्य बानीको रूपमा होइन, गम्भीर स्वास्थ्य जोखिमको रूपमा बुझ्दै यसबाट टाढा रहनु वा सकेसम्म चाँडो यसको लत त्याग्नु नै स्वस्थ जीवनतर्फको सही कदम हो।

चीनमा एम्बोडिड एआई र रोबोटिक्स बिकाश : अमेरिका हेरेको हेर्‍यै

एजेन्सी। आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स क्षेत्रमा चीन तीव्र गतिमा अगाडि बढिरहेको देखिएको छ। प्रयोगशालामा सीमित रहेको रोबोट प्रविधि अब दैनिक जीवनमा प्रवेश गर्न थालेको छ जसले चीनलाई विश्व रोबोटिक दौडमा अग्रणी देशमध्ये एक बनाइरहेको छ।

चीनले हाल एम्बोडिड एआई प्रविधिलाई तीव्र रूपमा अपनाइरहेको छ। यो यस्तो प्रविधि हो जसमा एआई प्रणालीलाई भौतिक रोबोटमा समावेश गरिन्छ जसले वातावरण बुझ्न निर्णय लिन र वास्तविक संसारमा काम गर्न सक्छ।

५८ डटकम सम्बन्धी रिपोर्टअनुसार मार्च महिनामा चीनमा सरसफाइ सेवामा मानव श्रमिकसँगै रोबोट पनि प्रयोग हुन थालेको छ। एक्स स्क्वायर रोबोट नामक स्टार्टअपले विकसित गरेको करिब १.५ मिटर अग्लो रोबोट सरसफाइ कार्यमा प्रयोग भइरहेको छ।

उक्त रोबोटले टेबल पुछ्ने भुइँ सफा गर्ने जस्ता काम गर्छ भने मानव श्रमिकले कठिन ठाउँहरू जस्तै भित्ताको चिल्लो हटाउने र टायल सफा गर्ने काम गर्छन्। रिपोर्टअनुसार रोबोटको प्रयोगले कामको बोझ करिब ३० प्रतिशतसम्म घटाएको छ।

यस कम्पनीलाई बाइटडान्स मेइतुआन शाओमी र अलिबाबा जस्ता ठूला प्रविधि कम्पनीहरूको समर्थन रहेको बताइएको छ। सेवाको लागत पनि मानव श्रमिकको सरसफाइ शुल्कसँग मिल्दोजुल्दो रहेको जनाइएको छ।

त्यसैगरी चीनका सहरहरूमा ट्राफिक व्यवस्थापनमा पनि रोबोट प्रयोग सुरु भएको छ। हाङ्चाउ शहरमा मे डेको बिदाको समयमा एआई-सञ्चालित १५ वटा ट्राफिक रोबोट तैनाथ गरिएको थियो।

यी रोबोटहरूले पैदल यात्रीलाई निर्देशन दिने साइकल चालकलाई सचेत गराउने र ट्राफिक नियन्त्रणमा सहयोग गर्ने काम गरिरहेका छन्। यी रोबोटहरू ठूला भाषा मोडेल सँग एकीकृत रहेको जनाइएको छ।

चीनको एआई प्लस पहल अन्तर्गत सन् २०३० सम्म अर्थतन्त्रको ठूलो हिस्सामा एआई समावेश गर्ने लक्ष्य राखिएको छ। यसले देशलाई प्रविधि र रोबोटिक्स क्षेत्रमा विश्व नेतृत्वतर्फ अघि बढाइरहेको विश्लेषण गरिएको छ।

विशेषज्ञहरूका अनुसार चीनले उत्पादन सेवा र सार्वजनिक व्यवस्थापनसम्म रोबोट विस्तार गरेसँगै विश्व रोबोटिक्स प्रतिस्पर्धामा अमेरिका र अन्य देशभन्दा अगाडि बढिरहेको देखिन्छ।

वैशाख २८ मा संसद अधिवेशन आह्वानका लागि सिफारिस गर्ने सरकारको निर्णय (भिडियो)

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि संसद बैठक आह्वान गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार दुवै सदनको बैठक दिउँसो २ बजे बस्नेछ। सरकारले पठाएका ८ वटै अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि संसद बैठक आह्वानका लागि सिफारिस गरिएको हो।

यसअघि वैशाख १७ गतेका लागि बोलाइएको संसद बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो।

अमेरिकी आक्रमण : पाँच जनाको मृत्यु

एजेन्सी । अमेरिकी सेनाले गरेको कार्गो डुङ्गा आक्रमणमा पाँच जना सर्वसाधारणको मृत्यु भएको इरानको तस्निम समाचार एजेन्सीले मङ्गलबार जनाएको छ।

समाचार अनुसार अमेरिकी सेनाले छ वटा इरानी डुङ्गाहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरिएको छ। तर इरानले आफ्ना कुनै पनि लडाकू जहाज प्रभावित नभएको जनाएको छ।

ओमानको तट नजिक खसाबबाट इरानतर्फ जाँदै गरेका दुई वटा कार्गो डुङ्गामा आक्रमण हुँदा डुङ्गामा सवार पाँच जना सर्वसाधारण यात्रुको मृत्यु भएको रिपोर्टमा उल्लेख छ।

अमेरिकी सेनाका कमाण्ड प्रमुख ब्राड कूपरका अनुसार स्ट्रेट अफ होर्मुज क्षेत्रमा छ वटा इरानी डुङ्गा डुबाइएको दाबी गरिएको छ। उनले अमेरिकी हेलिकप्टरमार्फत कारबाही गरिएको पनि बताएका छन्।

घटनाबारे दुबै पक्षका दाबी फरक–फरक रहेका कारण वास्तविक विवरण अझै स्पष्ट हुन बाँकी रहेको जनाइएको छ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय सिंहदरबारमा बसिरहेको छ । केहीबेर अघि बैठक सुरु भएको हो ।

यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

सहकारीमा अड्किएको बचत फिर्ता जेठ पहिलो सातादेखि सुरु हुँदै

काठमाडौं। समस्याग्रस्त सहकारीमा अड्किएको बचत फिर्ता प्रक्रिया जेठको पहिलो साताबाट सुरु हुने भएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार सार्वजनिक गरेको कार्ययोजनाअनुसार माग दाबी गरेका बचतकर्ताहरूलाई प्राथमिकताका आधारमा रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ।

समितिका अनुसार जेठको पहिलो साताबाट बचत फिर्ता कार्य औपचारिक रूपमा सुरु गरिनेछ। त्यसैगरी, माग दाबी छुटेका बचतकर्ताका लागि साउनको पहिलो सातादेखि पुनः दाबी गर्ने अवसर खुला गरिने पनि जनाएको छ।

समितिले कर्जा असुली प्रक्रियालाई थप कडा बनाउने जनाएको छ। ऋणीहरूलाई किस्ताबन्दीमा कर्जा तिर्न लिखित प्रतिबद्धता दिएमा निश्चित समय उपलब्ध गराइनेछ। तर भुक्तानी नगर्ने ऋणीहरूको तीनपुस्ते विवरण सार्वजनिक गर्ने र उनीहरू तथा परिवारका सदस्यलाई समेत कालोसूचीमा राख्ने चेतावनी दिइएको छ।

समितिका अनुसार हाल देशभरका समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ।

बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु हुने घोषणाले लामो समयदेखि पर्खाइमा रहेका पीडितहरूमा आशा पलाएको भए पनि सम्पूर्ण रकम फिर्ता हुने समयरेखा भने अझै स्पष्ट भइसकेको छैन।

जान्हवी कपुरको विवाहको हल्ला के हो ?

काठमाडौँ ।  बलिउड अभिनेत्री जाह्नवी कपूर र शिखर पहाडियाको विवाहबारे केही समयदेखि फैलिरहेका हल्लाहरू अन्ततः गलत ठहरिएका छन्। 

जाह्नवीका बुवा तथा फिल्म निर्माता बोनी कपूरले यो वर्षको अन्त्यतिर गुजरातको जामनगरमा विवाह हुने भन्ने खबर आधिकारिक रूपमा असत्य भएको स्पष्ट पारेका छन्।

केही भारतीय मिडिया रिपोर्टहरूमा सेप्टेम्बर-अक्टोबर बीच विवाह हुने अनुमान गरिएको थियो। तर ई-टाइम्ससँगको कुराकानीमा बोनी कपूरले ती सबै दाबीहरूलाई पूर्ण रूपमा खारेज गरेका छन्।

शिखर पहाडिया कपूर परिवारका नजिकका साथी मानिन्छन्। उनीहरूलाई पारिवारिक कार्यक्रम, बिदा बिदाने तथा मन्दिर भ्रमणमा प्रायः सँगै देखिने गरिन्छ। साथै, जाह्नवीले ‘कफी विद करण’ कार्यक्रममा पनि आफू रिलेशनशिपमा रहेको अप्रत्यक्ष संकेत दिएकी थिइन्।

जाह्नवी र शिखरको सम्बन्ध लामो समयदेखिको हो। सन् २०१६ तिर केही समय डेट गरे पनि उनीहरू छुट्टिएका थिए। तर पछिल्ला वर्षहरूमा दुवै फेरि सँगै देखिन थालेका छन्।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

 हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

ओमानलाई नेपालले दियो २५७ रनको लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानलाई नेपालले २५७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल अन्तिम बल बाँकी छँदै २५६ रनमा अलआउट भयो।

नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ९४ रन जोडे। उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे, तर शतक बनाउन ६ रनले चुके।

अर्का ओपनर विनोद भण्डारी भने खाता नै नखोली डकआउट भए।
तेस्रो नम्बरमा ब्याटिङ गरेका अर्जुन कुमालले ८७ बलमा ४ चौका प्रहार गर्दै ४८ रन बनाए, अर्धशतकबाट २ रनले चुके।

कप्तान रोहितकुमार पौडेलले १६ बलमा ९ रन जोडे भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४२ बलमा ३३ रन योगदान दिए।
गुल्सन झा १७ रनमा आउट भए।

अन्त्यतिर आरिफ शेखले विस्फोटक ब्याटिङ गर्दै २४ बलमा १ चौका र ४ छक्का सहित ४३ रन बनाए। उनी अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरेपछि आउट भएका थिए।

अन्यतर्फ करण केसी ० रन, नन्दन यादव २ रन र सन्दीप लामिछाने १ रनमा आउट भए।

ओमानका नदीम खानले ३ विकेट लिँदा, सकील अहमद र हसनइन शाहले २–२ विकेट लिए।

यो श्रृंखलामा नेपालले यसअघि युएईलाई दुवै खेलमा पराजित गरेको थियो। तर ओमानसँगको पहिलो भिडन्तमा भने नेपाल पराजित भएको थियो।

अंक तालिकामा ओमान २७ खेलबाट ३१ अंकसहित तेस्रो स्थानमा छ।
सातौं स्थानको नेपालले २३ खेलबाट १६ अंक जोडेको छ भने पुछारमा रहेका युएईका २४ खेलबाट १४ अंक छन्।

बुढानिलकण्ठबाट ३ जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका–१ घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–९ बस्ने ३१ वर्षीय शक्ति राई, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–१ घर भई बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ३९ वर्षीया बिमला दोङ, र सिन्धुपाल्चोककै गोकर्णेश्वर नगरपालिका–५ बस्ने ३१ वर्षीय रोशन तामाङ रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का अनुसार पक्राउ परेकामध्ये शक्तिले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै एक जनाबाट १ लाख ९५ हजार रुपैयाँ लिएका थिए। त्यस्तै बिमलाले अजरबैजान पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १३ लाख ६० हजार रुपैयाँ असुलेकी थिइन्।

रोशन तामाङले क्यानडा पठाइदिन्छु भन्दै एक जनाबाट २४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि उनीहरू पक्राउ परेका हुन्।

प्रहरीले शक्तिलाई बुढानिलकण्ठबाट बिहीबार, बिमलालाई ललितपुरको ग्वार्कोबाट शुक्रबार र रोशनलाई गोकर्णेश्वरबाट शनिबार पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

सुकुमवासी बस्ती कसरी हटाइयो भन्दै सर्वोच्चले माग्यो लिखित आदेश(भिडियो)

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाभित्र रहेका सुकुमबासी तथा अव्यवस्थित बस्तीहरूलाई बलपूर्वक हटाइएको घटनाबारे सरकारसँग लिखित जवाफ माग गरेको छ।

न्यायाधीश सुनील कुमार पोखरेलको एकल इजलासले माजिद अन्सारीलगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै जवाफ माग गरेको हो। विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका निकायहरूलाई १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नुपर्ने सर्वोच्चको आदेशमा छ ।

अदालतले नेपाल सरकारले ल्याएको १०० बुँदे शासकीय सुधारको दस्तावेज र आवासको हक सम्बन्धी ऐन, २०७५ को दफा ५ बमोजिम अनिवार्य प्रक्रिया पूरा गरिएको छ कि छैन भन्ने विषयमा पनि स्पष्टीकरण मागेको छ। साथै, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको सामूहिक बस्ती खाली गराउने र घर टहरा भत्काउने कार्य कुन कानुनी आधारमा गरिएको हो भनी सरकारलाई प्रश्न गरेको छ।

अदालतले हटाइएका परिवारहरूको पुनर्वास, खानपिन, ज्येष्ठ नागरिक तथा बिरामीहरूको उपचार, अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सेवा, तथा बालबालिकाको शिक्षा जस्ता वैकल्पिक व्यवस्थाहरूका सम्बन्धमा पनि लिखित जवाफ मागेको छ। 

आदेशअनुसार सरकारले बस्तीबाट विस्थापित नागरिकहरूको लगत संकलन तथा प्रमाणीकरणको पछिल्लो अवस्थाबारे जानकारी गराउनुपर्नेछ। साथै, बस्तीभित्र भत्काइएका विद्यालय, मठ मन्दिर, गुम्बा र मस्जिदहरूको विवरण र व्यवस्थापनका लागि भइरहेका कार्यहरूको जानकारी पेस गर्न पनि निर्देशन दिएको छ।

वैशाख १६ गते सूचना जारी गरी १७ गतेभित्र सामान सार्न र १८ गतेदेखि बस्ती खाली गराउने सरकारको निर्णयविरुद्ध रिट दायर गरिएको थियो। बस्ती खाली गराउने कार्य तत्काल रोक्न माग गरिएको अन्तरिम आदेश सम्बन्धमा अदालतले दुवै पक्षको भनाइ सुन्नु आवश्यक ठहर गर्दै आगामी वैशाख २३ गते छलफलका लागि बोलाएको छ।

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी(भिडियो)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्।

अघिल्लो साता मन्त्रिपरिषद्ले सिफारिस गरेको यही अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए। तर सरकारले कुनै संशोधन नगरी सोमबार पुनः उही अध्यादेश राष्ट्रपतिलाई पठाएको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलबार अध्यादेश जारी गरेका हुन्।

राष्ट्रपतिले अध्यादेशमा प्रस्तावित निर्णय प्रक्रियासम्बन्धी प्रावधानप्रति आपत्ति जनाउँदै फिर्ता पठाएका थिए। प्रस्तावित व्यवस्थाअनुसार संवैधानिक परिषद्को बैठकमा ४ सदस्य उपस्थित भए बैठक वैध हुने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्ने व्यवस्था गरिएको छ।

यसले ६ सदस्यीय परिषद्मा ३ जनाले मात्र निर्णय लिन सक्ने स्थिति पैदा हुने भएकाले ‘कुल सदस्य संख्याको बहुमत’ भन्ने मर्म कमजोर हुने राष्ट्रपतिको भनाइ थियो।

निर्णय गर्दा उपस्थित सदस्य होइन, कुल सदस्य संख्याको बहुमतलाई आधार बनाइनुपर्ने उनको धारणा थियो । यही कारण उनले अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए।

तर सरकारले सोही प्रावधान रूपमै दोहोर्‍याएर पठाएपछि राष्ट्रपति अध्यादेश जारी गर्न बाध्य बनेका हुन्। संविधानमा राष्ट्रपतिले अध्यादेश फिर्ता गरेपछि कार्यकारीले पुनर्विचार नगरेको अवस्थामा के गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था छैन।

यद्यपि संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएका विधेयकको सन्दर्भमा भने राष्ट्रपतिले अर्थबाहेक अन्य विधेयक एकपटक मात्र फिर्ता पठाउन सक्ने प्रावधान छ।

रास्वपा सांसदलाई २ दिने प्रशिक्षण दिइदै(भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूका लागि दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। प्रशिक्षण विभाग प्रमुख विपिन आचार्यका अनुसार वैशाख २६ र २७ गते बिहान ११ बजेदेखि साँझ ५ बजेपछि सम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रशिक्षण सञ्चालन हुनेछ।

सांसदहरूले शपथ लिनेभन्दा अघि पनि रास्वपाले आवासीय प्रशिक्षण गराएको थियो। यसपटकको कार्यक्रम भने संसदीय अभ्यासका पक्षहरू र संसद्मा प्रभावकारी भूमिका कसरी निर्वाह गर्ने भन्ने विषयमा केन्द्रित हुनेछ।

आगामी बजेट अधिवेशन नजिकिँदै गर्दा सांसदहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो प्रशिक्षण आयोजना गर्न लागेको पार्टीले जनाएको छ।

 

 

पश्चिम बङ्गालमा भाजपा ऐतिहासिक जिततर्फ अग्रसर

काठमाडौं । भारतको राजनीतिमा नयाँ मोड देखाउने संकेत सहित प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बङ्गालको विधानसभामा उल्लेखनीय अग्रता कायम गरेको छ। लामो समयदेखि विपक्षी गढ मानिँदै आएको यो राज्यमा भाजपा शक्ति विस्तारका निर्णायक चरणमा पुगेको प्रारम्भिक मतपरिणामहरूले देखाएका छन्।

भारतको निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेका आंशिक नतिजाअनुसार, २९४ सदस्यीय पश्चिम बङ्गाल विधानसभामा भाजपाले कम्तीमा १२४ सिट जितिसकेको छ भने ८३ सिटमा अग्रता बनाइरहेको छ। यसले राज्यमा पहिलोपटक भाजपा सरकार बन्न सक्ने सम्भावना अझ प्रबल भएको विश्लेषणहरू भइरहेका छन्।

पश्चिम बङ्गालमा अहिलेसम्म सत्ता सम्हाल्न नसकेको भाजपाले वर्षौंदेखि मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको अखिल भारतीय तृणमूल कांग्रेस सरकारलाई विस्थापित गर्न निरन्तर प्रयास गर्दै आएको थियो। सन् २०११ देखि लगातार सरकारमा रहँदै आएकी बनर्जी मोदीकी कट्टर आलोचकका रूपमा परिचित रहिएकी छिन्, र राज्यमा उनको प्रभाव मजबुत मानिँदै आएको छ।

तर यसपटकको चुनाव प्रक्रिया विवादमुक्त रहेन। विपक्षी दलहरूले लाखौँ मतदाता सूचीबाट हटाइएका आरोप लगाउँदै निर्वाचन आयोगको निष्पक्षता प्रश्नगत रहेको दाबी गरेका छन्, जसले राजनीतिक वातावरण थप तिक्त बनाएको छ।

यहीबीच, अन्य दुई राज्यमा पनि सत्ता परिवर्तन भएको छ भने अप्रिलमा सम्पन्न अर्को राज्यीय चुनावमा भने भाजपाले आफ्नो सरकार जोगाउन सफल भएको थियो। एक अर्ब ४० करोडभन्दा बढी जनसंख्या र २८ राज्य तथा आठ संघीय क्षेत्रसमेत रहेको भारतमा नियमित हुने प्रदेशीय तथा स्थानीय चुनावले देशको राजनीतिक परिदृश्य निरन्तर बदलिनेरहने गर्दछ।

विशेषगरी तेस्रो कार्यकालको मध्य चरणमा पुगेका मोदीका लागि पश्चिम बङ्गालको प्रदर्शन रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिएको छ। सन् २०२४ को आम निर्वाचनपछि केन्द्रमा सरकार गठनका लागि क्षेत्रीय दलहरूको समर्थन आवश्यक परेको पृष्ठभूमिमा यो सफलता मोदीको राष्ट्रिय राजनीतिक आधारलाई अझ मजबुत बनाउने संकेतका रूपमा हेर्न सकिन्छ। आगामी २०२९ को निर्वाचनमा चौथो कार्यकालका लागि दाबी पेश गर्ने तयारी समेत भइरहेको बताइन्छ।

तस्बिर: एपी 

३ हजार ८ सयले घट्यो सुनको मूल्य

काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार देशभर सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ हजार ८ सय रुपैयाँले सस्तो हुँदै २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार भने छापावाल सुनको मूल्य २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि आज ओरालो लागेको छ। चाँदी तोलामा १५० रुपैयाँले घटेर ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

‘परालको आगो’को बक्स अफिसमा ३ करोडभन्दा बढी कमाइ

काठमाडौं। निर्देशक लक्ष्मण सुनार को फिल्म परालको आगो ले घरेलु बक्स अफिसमा ३ करोड १२ लाख रुपैयाँभन्दा बढी कमाइ गर्न सफल भएको छ।

चलचित्र विकास बोर्ड ले शनिबार रातिसम्म सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार फिल्मले ३ करोड १२ लाख १७ हजार ९२ रुपैयाँ ग्रस कलेक्सन गरेको हो।

उक्त अवधिसम्म फिल्मका १ लाख १० हजार ४४२ वटा टिकट बिक्री भएको बोर्डले जनाएको छ।

प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल र सिर्जना अधिकारी अभिनीत यो फिल्म गुरुप्रसाद मैनाली को चर्चित कथामा आधारित रहेको छ।

करिब २ करोड रुपैयाँ लगानीमा बनेको फिल्मले लगानी उठाउँदै नाफातर्फ उन्मुख भएको देखिएको छ।

कालंगा हाइड्रोको आइपिओ जेठ ८ देखि सर्वसाधारणका लागि खुल्ने

काठमाडौं । कालंगा हाइड्रो लिमिटेड ले जेठ ८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुलाउने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। सो प्रक्रिया पूरा भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ खुलाउन लागिएको हो।

कुल १ अर्ब ४० करोड रुपैयाँ जारी पुँजीमध्ये ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँ मूल्यका ४९ लाख कित्ता सेयर निष्कासन गर्न कम्पनीले अनुमति पाएको थियो। यसमध्ये १४ लाख कित्ता स्थानीय बासिन्दा र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ।

त्यस्तै, १ लाख ९५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। अब बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ १३ गतेसम्म तोकिएको छ। यदि सो अवधिसम्म सबै सेयरमा आवेदन नपरेमा निष्कासन अवधि जेठ २२ गतेसम्म थपिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपाल ले ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

आइपिओको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

यसका साथै मेरो सेयर अनलाइन प्रणालीमार्फत पनि सहज रूपमा आवेदन दिन सकिनेछ।

हर्मुज जलडमरूमध्यमा जहाजमा विस्फोट

एजेन्सी । हर्मुज जलडमरूमध्य मा सोमबार दक्षिण कोरियासँग सम्बन्धित एक जहाजमा विस्फोट भई आगलागी भएको दक्षिण कोरियाको विदेश मन्त्रालय ले जनाएको छ।

पानामाको झण्डा बोकेको उक्त जहाजमा ६ जना दक्षिण कोरियालीसहित २४ जना चालक दलका सदस्य सवार रहेका थिए। विस्फोट हुनुअघि जहाज संयुक्त अरब अमिरात नजिकैको समुद्री क्षेत्रमा रोकिएको थियो।

मन्त्रालयका अनुसार हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। विस्फोट र आगलागीको कारण भने तत्काल खुल्न नसकेको र क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ।

‘सरकारले यस विषयमा सम्बन्धित देशहरूसँग निकट समन्वय गर्नेछ र हर्मुज जलडमरूमध्यभित्र रहेका आफ्ना जहाज तथा चालक दलको सुरक्षाका लागि आवश्यक कदम चाल्नेछ,’ मन्त्रालयले जनाएको छ।

पश्चिम एसियामा जारी द्वन्द्व सुरु भएयता दक्षिण कोरियासँग सम्बन्धित करिब २६ वटा जहाज उक्त जलडमरूमध्य क्षेत्रमा प्रभावित भएको बताइएको छ।

स्मार्ट टेलिकम प्रकरण: जोशी पक्राउ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण ले इजाजतपत्र (लाइसेन्स) नवीकरण नगरेपछि खारेज गरिएको स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ परेका छन्।

प्राधिकरणको नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति हिनामिना गरेको तथा सरकारलाई नोक्सानी पुर्‍याएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो का प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा जोशीलाई काठमाडौं महानगरपालिका–२ खुर्सानीटारबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार ४५ वर्षीय जोशीलाई काठमाडौं जिल्ला अदालत बाट पक्राउ अनुमति लिएर सोमबार नियन्त्रणमा लिइएको हो।

स्मार्ट टेलिकम प्रालिले २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमतिपत्र प्राप्त गरेको थियो। तर, नियमानुसार नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम २०८० वैशाख ३ गतेदेखि उक्त अनुमतिपत्र स्वतः रद्द भएको थियो।

अनुमतिपत्र रद्द भएपछि ‘दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९’ अनुसार स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, पूर्वाधार, संरचना, प्रणाली र सञ्जाल प्राधिकरणले आफ्नो नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार उक्त सम्पत्तिमाथि बेइमानीपूर्वक सरकारको हक नोक्सान पुर्‍याउने उद्देश्यले काम गरिएको भन्दै जोशीमाथि आरोप लगाइएको छ। सरकारी सम्पत्ति हिनामिना, ठगी तथा आपराधिक विश्वासघातमा संलग्न देखिएकाले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको सीआईबीले जनाएको छ।

हाल जोशीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शिक्षालय र कर्मचारीतन्त्रमा दलगत हस्तक्षेप अन्त्य गर्न अध्यादेश : प्रधानमन्त्री

काठमाडौं।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले शिक्षालय र कर्मचारीतन्त्रमा देखिएको दलगत हस्तक्षेप अन्त्य गर्न सरकारले अध्यादेश ल्याएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि विद्यार्थी र कर्मचारीतन्त्र पार्टीकरणको शिकार बन्दै आएको उल्लेख गरेका छन्। ‘धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले एउटै कुरा भन्दै आएका छन्, विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो,’ उनले लेखेका छन्।

प्रधानमन्त्री शाहका अनुसार विभिन्न संगठनहरू विद्यार्थी र कर्मचारीको हितभन्दा बढी राजनीतिक दलका ‘स्लिपर सेल’मा परिणत हुँदा योग्यता र क्षमताभन्दा पहुँच र दलगत आस्थाको प्रभाव बढेको छ। यसले समग्र प्रणालीप्रति जनविश्वास कमजोर बनाएको उनको भनाइ छ।

सरकारले चाहेको खण्डमा नयाँ विद्यार्थी तथा कर्मचारी संगठन विस्तार गर्न सक्ने भए पनि अर्को दलगत संरचना थप्दा समस्या समाधान नहुने निष्कर्षसहित अध्यादेश ल्याइएको उनले स्पष्ट पारेका छन्।

‘शिक्षालयमा दलको झण्डा निषेध, कर्मचारीतन्त्रमा दलको झोला निषेध,’ उनले भने, ‘यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।’

प्रधानमन्त्री शाहले अब नियुक्ति, सरुवा र बढुवामा दलगत निकटता होइन, विधि, क्षमता र दक्षतालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्। साथै विद्यार्थीले गुरुबाट र कर्मचारीले विधि कानुनबाट सिक्नुपर्ने उल्लेख गर्दै उनले राजनीतिक संस्कार सुधारको आवश्यकता औंल्याएका छन्।

उनले यो कदम कुनै दलविरुद्ध नभई प्रणाली र भविष्य जोगाउने प्रयास भएको बताएका छन्। ‘यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो,’ उनले भने।

प्रधानमन्त्री शाहले परिवर्तन भाषणबाट नभई निर्णयबाट आउने उल्लेख गर्दै सरकार आम जनताको चाहनाअनुसार काम गर्न प्रतिबद्ध रहेको र सबै निर्णय जनहितमै केन्द्रित हुने विश्वास दिलाएका छन्।

वर्षायाम नजिकिँदै, तमोर कोरिडोरमा पुल अझै अधूरा, छिटो सक्न आङ्देम्बेको निर्देशन

काठमाडौं ।प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले तमोर कोरिडोर सडक खण्डअन्तर्गत निर्माणाधीन पुलहरूको स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा सडक कालोपत्रे भइसके पनि पुल निर्माणको काम अत्यन्त सुस्त गतिमा अघि बढिरहेको पाइएको भन्दै उनले निर्माण कम्पनीप्रति असन्तुष्टि जनाए।

वर्षायाममा बाढीका कारण सवारी आवागमन अवरुद्ध हुने समस्या दोहोरिँदै आएको उल्लेख गर्दै उनले कामलाई तीव्र बनाउन निर्देशन दिएका हुन्।

नेता आङ्देम्बेले भने, ‘बजेटको लागि पहल गर्ने म छु, तर यहाँ काम छिटो सक्नुपर्‍यो।”

पूर्वी पहाडलाई तराईसँग जोड्ने महत्त्वपूर्ण मार्गका रूपमा चिनिने तमोर कोरिडोरलाई ‘लाइफलाइन सडक’ मानिन्छ।

तर, लखुवा, नावाखोला, रगुवा र छरुवालगायत खोलामा पुल निर्माण ढिलाइ हुँदा हरेक वर्ष वर्षायाममा सवारी आवागमन प्रभावित हुँदै आएको छ।

खोलामा पानी बढ्दा सवारी साधन बग्ने, डुब्ने जस्ता जोखिमसमेत बढ्ने गरेको स्थानीयको गुनासो छ।

जनताले वर्षौंदेखि भोग्दै आएको समस्याप्रति गम्भीरता देखाउँदै नेता आङ्देम्बेले पुल निर्माणको जिम्मा लिएको कम्पनीका प्रतिनिधिहरूलाई काममा ढिलासुस्ती नगर्न सचेत गराएका छन्।

साथै, आवश्यक बजेट व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

अमेरिकालाई ‘कागजी बाघ’ भन्दै गर्जिएका थिए ‘माओ’

माओ त्से-तुंग चीनका क्रान्तिकारी नेता र जनवादी गणतन्त्र चीनका संस्थापक हुन्। उनको जन्म  १८९३ डिसेम्बर २६मा हुनान प्रान्तमा भएको थियो। उनी चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख नेताका रूपमा उदाए र लामो गृहयुद्धपछि १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थापना गरे। उनले भूमि सुधार र समाजवादी नीतिहरू लागू गरे। जसले चीनको संरचनामा ठूलो परिवर्तन ल्यायो। तर उनका केही नीतिहरू विवादास्पद पनि रहे।

माओ त्से गजब बोल्थे। उनका भाषणहरू प्रायः क्रान्तिकारी उत्साह, राजनीतिक संघर्ष र जनसमूहलाई प्रेरित गर्ने शैलीका हुन्थे।

उनी किसान, मजदुर र सामान्य जनतालाई केन्द्रमा राखेर कुरा गर्थे। उनका भाषणहरूमा वर्गसंघर्ष, साम्राज्यवादको विरोध, आत्मनिर्भरता र समाजवाद निर्माण जस्ता विषयहरू बारम्बार आउँथे।

उनी लामो व्याख्याभन्दा बढी स्पष्ट सन्देश र नारामूलक शैलीमा बोल्थे, जसले जनतालाई सीधा असर गर्थ्यो। उनका भाषणहरूमा ऐतिहासिक उदाहरण, क्रान्तिकारी संघर्षका अनुभव र भावनात्मक अपीलको मिश्रण पाइन्थ्यो, जसले श्रोताहरूमा जोश र राजनीतिक चेतना जगाउने काम गर्थ्यो।

उनको निधन१९७६ सेप्टेम्बर ९ मा बेइजिङमा भयो।

उनले अमेरिकालाई कागजी बाघ भन्दै दिएको भाषणको केहि अंश  जस्ताको त्यस्तै

‘पूँजीवादी संसारमा धेरै समस्याहरू छन्। हाम्रो संसारमा तुलनात्मक रूपमा कम समस्याहरू छन्। हामी दृढ रूपमा एकताबद्ध छौँ। युगोस्लाभिया हाम्रो शिविरमा छैन। त्यसैले यसको गन्ती हुँदैन। हामीले त्यसलाई बहिष्कार गरेका होइनौँ।  तर त्यो हामीसँग सामेल हुन चाहँदैन। हाम्रो शिविरका १२ राष्ट्रहरूको अवस्था निकै राम्रो छ। सधैं राम्रो नै रह्यो। कुनै खराब दिन आएको छैन। तर कहिलेकाहीँ आकाशमा कालो बादलहरू देखिन्छन्। केही मानिसहरू हामी सक्षम छैनौँ भन्छन्, अरूले हामी सक्षम छौँ भन्छन्। हामी भन्छौँ, ‘हामी सक्षम छौँ।’

मस्को सम्मेलनमा मैले १० वटा प्रमाणहरू प्रस्तुत गरेको थिएँ। जसले हामी सधैं सक्षम थियौँ भन्ने देखाउँछ। जब च्याङ काइ-शेक नानकिङमा थिए। र हामी येनानमा थियौँ। त्यतिबेला कुन पक्ष सक्षम थियो? त्यसबेला येनानमा केवल ७,००० मानिस थिए, उपनगरसहित। नानकिङ धेरै ठूलो थियो। नानकिङ र सांघाईजस्ता ठूला सहरहरू सबै च्याङ काइ-शेकको नियन्त्रणमा थिए। उनीसँग लाखौँ सैनिक थिए। जबकि हामीसँग केवल केही लाख गुरिल्ला सेना थियो।

सधैं सानोले ठूलोलाई पराजित गर्ने र कमजोरले शक्तिशालीलाई जित्ने कुरा हुँदै आएको छ। सानो र कमजोरमा ऊर्जा हुन्छ। तर ठूलो र शक्तिशालीमा हुँदैन।

समग्र अवस्था राम्रो छ। हामीले हिटलर, च्याङ काइ-शेक र अमेरिकी साम्राज्यवादको बारेमा धेरै कुरा गर्न आवश्यक छैन। हामीले सधैं अमेरिकी साम्राज्यवादलाई कागजको बाघ मानेका छौँ। दुर्भाग्य, एउटा मात्र अमेरिकी साम्राज्यवाद छ। यदि १० वटा भए पनि यसले हामीलाई फरक पार्दैन। यो ढिलो वा चाँडो समाप्त हुनेछ।

पेइचिङका जापानीहरूले हामीमाथि आक्रमण गरेकोमा मसँग माफी मागे। मैले भने,तिमीहरूले राम्रो काम गर्‍यौ। ठीक तिम्रो आक्रमण र चीनको आधाभन्दा बढी भाग कब्जा भएकै कारण हामी एकताबद्ध भयौँ। सम्पूर्ण राष्ट्रका जनतालाई नेतृत्व गरेर तिमीहरूलाई भगायौँ र पेइचिङमा आउन सक्यौँ।

जब हामी येनानमा थियौँ। हामी मेई लानफाङ र चेंग यानछ्युका नाटक कहिले हेर्न पाउँछौँ भनेर सोच्थ्यौँ। केही मानिसहरू त जीवनभर मौका नै आउँदैन भन्थे। तर हामीले ती नाटकहरू हेर्न पायौँ। क्रान्तिकारी अवस्था तीव्र रूपमा विकास भइरहेको थियो। सात वर्षभित्र सम्पूर्ण पार्टी एकताबद्ध भयो र च्याङ काइ–शेकलाई पराजित गर्‍यो। अहिले हामी एकताबद्ध भएर निर्माण कार्य गर्न चाहन्छौँ।

‘सातौँ पार्टी कांग्रेस’ ले एउटा कार्यक्रम बनाएको थियो। यो कांग्रेस पनि एकताको कांग्रेस थियो। विजयको कांग्रेस थियो। यसले साझा कार्यक्रम पनि बनायो। सम्पूर्ण पार्टीले समाजवाद निर्माणको सामान्य मार्गलाई सर्वसम्मत रूपमा तय गर्‍यो।  जुन सम्पूर्ण देशका जनताको पनि मार्गदर्शन हो। देशभित्रको अवस्था पार्टी र जनताबीचको एकताको अवस्था हो।

अन्तर्राष्ट्रिय अवस्था धेरै अशान्त छ। साम्राज्यवादी शिविरमा आन्तरिक झगडा छ। संसार शान्त छैन। फ्रान्स, अल्जेरिया, ल्याटिन अमेरिका, इन्डोनेसिया र लेबनानमा समस्याहरू छन्। यी सबै समस्याहरू पूँजीवादी संसारमा छन्। तर ती सबैले हामीलाई पनि असर गर्छन्। साम्राज्यवादको विरुद्ध हुने सबै कुरा हाम्रो लागि लाभदायक हुन्छ।

साम्राज्यवाद आफैँभित्र झगडा गरिरहेको छ। यसले इन्डोनेसिया, लेबनान र ल्याटिन अमेरिकालाई दमन गरिरहेको छ र अल्जेरियाका लागि लडिरहेको छ। सामान्य रूपमा हेर्दा कहिलेकाहीँ अवस्था खराब जस्तो देखिन्छ। आकाशमा कालो बादल देखिन्छ। त्यस्ता बेला हामीले दूरदर्शी हुनुपर्छ। हामीले अस्थायी अन्धकारबाट भ्रमित हुनु हुँदैन र सबै कुरा गलत छ भन्ने सोच्नु हुँदैन।

हाम्रो सबैभन्दा कठिन समय लङ मार्च थियो। अगाडि बाटो बन्द थियो र पछाडि सेना पछ्याइरहेको थियो। हाम्रो सेना, भूमि र पार्टी घटेर केवल एक दशांश बाँकी थियो। तर यी कठिनाइहरूले हामीलाई बलियो बनाए। पछि नयाँ अवसरहरू आए र हामी फेरि विकास भयौँ। हाम्रो एक औँला दस औँला बन्यो।

हामी जनवादी गणतन्त्र चीनको स्थापना र राष्ट्रिय विजयसम्म पुग्यौँ। सोभियत कम्युनिस्ट पार्टीको इतिहासको पहिलो अध्यायमा सानोबाट ठूलो बन्ने द्वन्द्ववादको कुरा गरिएको छ। सोभियत कम्युनिस्टहरू केही व्यक्तिको सानो कोषबाट सुरु भएर सम्पूर्ण राष्ट्रलाई नेतृत्व गर्ने ठूलो पार्टी बने। उनीहरूसँग सुरुमा एक राइफल पनि थिएन, तर उनीहरूले जार र केरेन्स्की सरकारलाई पराजित गरे।

त्यसरी नै हाम्रो पार्टी पनि सुरुमा केही दर्जन सदस्यबाट सुरु भएको थियो। पहिलो पार्टी कांग्रेसका चाउ फुहाई ‘राम्रो साथी’ थिए र चेन कुंगपो पनि ‘राम्रो साथी’ थिए। चेन तुशिउ बैठकमा आएनन्। तर प्रतिष्ठाका कारण उनी महासचिव चुनिए, तर उनी योग्य थिएनन्।

हाम्रो पार्टी इतिहासमा धेरै कठिनाइहरू आए-लङ मार्च, विभाजन र पुनः एकता। लङ मार्चको समयमा पनि पार्टी विभाजित भयो र फेरि एकताबद्ध भयो। झाङ गुओताओ अलग भए। तर एकता पुनः स्थापित भयो।

पछि येनानमा च्याङ काइ-शेक र जापानी सेनाले हामीलाई घेरे। १० भन्दा बढी आधार क्षेत्रमा विभाजन गरे। यस्तो कठिन अवस्थामा येनान वा नानकिङ कुन बलियो थियो? हामी वा च्याङ काइ–शेक? अहिले प्रमाणित भइसकेको छ कि हामी बलिया थियौँ। अन्यथा हामी यहाँ सभा गरिरहेका हुन्थेनौँ। उनी ताइवान किन भागे? अन्ततः विजेता को थियो?’

[स्रोत: ‘लङ लिभ माओ त्से–तुंग थट,’ अ रेड गार्ड पब्लिकेशन]

१५ वर्षे टीएमसीको सत्तालाई पराजित गर्दै पश्चिम बंगालमा बीजेपी दुईतिहाइ नजिक

काठमाडौं ।  भारतको पश्चिम बंगालसहित चार राज्य र एक केन्द्र शासित प्रदेशमा हालै सम्पन्न भएको विधानसभा चुनावको मतगणना जारी छ। जारी मतगणना अनुसार पश्चिम बंगालमा सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी) भन्दा भारतीय जनता पार्टी (बीजेपी) निकै अगाडि देखिएको छ।

ताजा मतपरिणाममा टीएमसीको ८५  सिटमा र बीजेपीको २०२ सिटमा अग्रता छ । २९४ सदस्यीय विधानसभा मा बहुमतका लागि १४८ सिट आवश्यक पर्छ, जसअनुसार प्रारम्भिक रुझानमै बीजेपीले बहुमत प्राप्त गर्ने देखिन्छ।

यदि यो राज्यमा टीएमसी पराजित हुन्छ भने यो परिणाम धेरै हिसाबले ऐतिहासिक हुनेछ। पश्चिम बंगालमा सन् २०११ देखि लगातार टीएमसीको सरकार छ भने ममता बनर्जी पछिल्ला १५ वर्षदेखि मुख्यमन्त्री रहँदै आएकी छन्। ०११ मा उनी ३४ वर्ष लामो वामपन्थी सत्तालाई पराजित गर्दै मुख्यमन्त्री बनेकी थिइन्। 

यदि यस पटकको चुनावमा बीजेपीले जित हासिल गर्यो भने उसले पश्चिम बंगालमा पहिलोपटक सरकार बनाउनेछ। 

अघिल्लो चुनावमा टीएमसीले २१५ सिट र बीजेपीले ७७ सिट जितेको थियो। तर यसपटकका अधिकांश एग्जिट पोलहरूले टीएमसी र बीजेपीबीचको मतान्तर निकै कम हुने अनुमान गरेका थिए।  कुनै एक दलले बहुमत पाए पनि ठूलो अन्तर नहुने बताइएको थियो। तर अहिलेको रुझानमा बीजेपी ठूलो जिततर्फ अघि बढिरहेको देखिन्छ।

पछिल्ला ५० वर्षमा पश्चिम बंगालमा प्रायः एकतर्फी चुनाव हुँदै आएका छन्। चाहे कांग्रेस होस्, लेफ्ट होस् वा टीएमसी- जुन दलले जित्छ, उसले प्रायः ठूलो बहुमतसहित सरकार बनाउँदै आएको इतिहास छ।

चुनावका दुई चरणमा कुल मतदान प्रतिशत ९२.४७% पुगेको छ, जुन भारतको स्वतन्त्रता पछिको पश्चिम बंगालमा अहिलेसम्मकै उच्च मतदान हो। यद्यपि यस राज्यमा परम्परागत रूपमा अन्य राज्यहरूको तुलनामा उच्च मतदान हुँदै आएको छ, तर यसपटक शहरी र ग्रामीण दुवै क्षेत्रमा ९०% भन्दा बढी मतदान हुनु असाधारण मानिएको छ।

ऋणले देश गरीब भयो भन्ने सरकारले थप्यो २ महिनामा ४८ अर्ब बढी ऋण

काठमाडौं । सरकारले गठन भएको दुई महिना नपुग्दै करीब ४८ अर्ब स्वीकार गर्ने निर्णय गरेको छ।

यही सरकार हो जसले ‘ऋणले देश टाट पल्ट्यो’ भन्दै नागरिकमा भ्रमको सिर्जना गर्ने गर्दथ्यो। अहिलेका सरकारका प्रधानमन्त्री बालेन्द्र शाहका अधिकांश र्‍याप गीत त्यही अभिप्राय सहित निर्माण भएका छन्। अहिलेका मन्त्रिपरिषदका सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसदहरूले विरोध मात्रै गर्थेनन्, अल्गोरिदममार्फत सामाजिक सञ्जालमा आलोचनाको खेती र व्यापार गर्ने गर्थे।

आजमात्रै सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर अर्थात् ७ अर्ब ८९ करोडभन्दा बढीको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ। त्यस्तै ५ मिलियन अमेरिकी डलर अर्थात् ७५ करोड ९० लाखभन्दा बढीको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकको ऋण र अनुदान स्वीकार गर्ने निर्णय भएको प्रवक्ता सस्मिता पोखरेलले बताए।

बैठकले भारतसँग जी-टु-जी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ।

डिजिटल परियोजनाबाट सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, सूचना प्रविधि पूर्वाधार सुदृढ गर्ने तथा नागरिकलाई अनलाइन सेवामा सहज पहुँच दिने लक्ष्य राखिएको छ।

यस्तै, समावेशी वित्त परियोजनाले बैंकिङ पहुँच बाहिर रहेका वर्गलाई वित्तीय सेवामा जोड्ने, साना तथा मझौला उद्यममा लगानी प्रवाह बढाउने र वित्तीय स्थायित्व सुदृढ गर्न परिचालन गरिने उल्लेख छ।

सहुलियतपूर्ण ऋण भएकाले यसको ब्याजदर न्यून रहने र दीर्घकालीन रूपमा आर्थिक संरचना सुधारमा योगदान पुग्ने दाबी गरिएको छ।

यसअघि चैत २४ मा बसेको मन्त्रिपरिषद् बैठकबाट बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि भन्दै सरकारले विश्व बैंकको १२ अर्ब ९० करोड ३१ लाख ६ हजार अर्थात् ८५ मिलियन अमेरिकी डलर ऋण स्वीकार गरेको थियो।

गठन भएको केही दिनमै सरकारले विश्व बैंक र एसियाली विकास बैंकको करीब २८ अर्ब ऋण स्वीकार गर्ने निर्णय गरेको थियो।

नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि एडीबीबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर गरी ९० मिलियन डलर सहुलियत ऋण स्वीकार गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मिता पोखरेलले बताएका थिए । यस्तै, दिगो समावेशी वित्त परियोजना अन्तर्गत विश्व बैंकबाट ९५ मिलियन डलर ऋण लिने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।

बैंक तथा वित्तीय संस्थाहरुमा ७ अर्ब ३० करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ७ अर्ब ३० करोड रुपैयाँ लगानी गर्न तयारी गरेको छ। राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकमलाई ३६६ दिनका मुद्दती निक्षेप रूपमा लगानी गर्ने निर्णय भएको हो।

आज सार्वजनिक गरिएको सूचनाअनुसार, कुल रकममध्ये ५ अर्ब ८४ करोड वाणिज्य बैंकहरूमा, १ अर्ब ९ करोड ५० लाख राष्ट्रिय स्तरका विकास बैंकहरूमा तथा ३६ करोड ५० लाख राष्ट्रिय स्तरका फाइनान्स कम्पनीहरूमा परिचालन गरिनेछ।

यो रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई प्रस्तावित ब्याजदरसमेत उल्लेख गरी वैशाख २३ गतेभित्र आवेदन दिन आग्रह गरिएको सूचनामा उल्लेख गरिएको छ।

व्यापारमा ‘राम नाम सत्य’ भन्दा अघि ‘परालको आगो’

काठमाडौं। वैशाख ११ देखि प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ ले बक्स अफिसमा उल्लेखनीय सफलता हात पारेको छ। प्रारम्भिक १० दिनमै फिल्मले ३ करोड १२ लाख ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डले जनाएको छ। सो अवधिमा फिल्मका लागि १ लाख १० हजारभन्दा बढी टिकट बिक्री भएको छ।

लक्ष्मण सुनार निर्देशित यस फिल्ममा सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापा शीर्ष भूमिकामा देखिएका छन्।

यसैबीच, चैत २७ देखि प्रदर्शनमा रहेको फिल्म ‘राम नाम सत्य’ ले वैशाख २० सम्म ३ करोड ३९ लाख ग्रस कमाइ गरेको छ। ‘परालको आगो’भन्दा दुई साताअघि प्रदर्शनमा आए पनि यसको कुल कलेक्सन २७ लाखले मात्र बढी देखिएको छ।

माइकल चन्द निर्देशित ‘राम नाम सत्य’ एक एक्सन जनराको फिल्म हो, जसमा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट र दिव्या रायमाझी मुख्य भूमिकामा छन्।