`

ज्ञानेन्द्र शाही राप्रपा संसदिय दलकाे नेतामा चयन

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नयाँ संसदीय दल नेता चयन गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्वसम्मत रूपमा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई दलको नेता नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

शाही स्वयं पार्टीका प्रवक्तासमेत हुन् र उनी जुम्लाबाट प्रतिनिधि सभा सदस्य चुनिएका थिए।
यससँगै संसदीय दलका नेता शाहीले मुख्य सचेतकमा खुस्बु ओलीलाई मनोनयन गरेका छन्। ओली समानुपातिकतर्फबाट संघीय संसद्मा प्रवेश भएकी हुन्।

राप्रपाले हालैको निर्वाचनमा प्रत्यक्ष १ र समानुपातिक ४ गरी कूल ५ सिट हासिल गरेको छ।

 

रवि लामिछानेले के संसद छिर्न पाउँछन् ? (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्यका रुपमा प्रवेश पाउँछन् कि पाउँदैनन् भन्‍ने बहस चर्किएकाे छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने लामिछानेविरुद्धकाे सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन हुनाले उनकाे सांसद पद निलम्बनमा पर्ने भन्दै प्रतिनिधिसभा सदस्यका रुपमा प्रवेश नपाउने बताए ।

नेपालवान एचडीसँग सम्वाद गर्दै उनले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग कानुनी ज्ञान शून्य रहेकाे टिप्पणी पनि गरे । भण्डारीले लामिछानेलाई संसद प्रवेशमा कुनै अड्चन नरहेकाे बताएका थिए ।

लामिछानेविरुद्ध काठमाडौं, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालतमा सहकारी ठगी, सङ्‍गठित अपराधसँगै सम्पत्ति शुद्धीकरणकाे मुद्दा विचाराधीन छ ।

यसबीच उनी हालै भएकाे प्रतिनिधिसभा निर्वाचनमा चितवन-२ बाट विजयी भएका हुन् ।

चुनावमा पाँच अर्ब ३७ करोड रुपैयाँ खर्च

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पाँच अर्ब ३७ करोड रुपैयाँ खर्च भएको छ ।

बिहीबार (चैत ५) आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरदरमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको बताए ।

‘हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको छ  । भुक्तानी गर्न बँकी दायित्वसमेत हिसाब गर्दा जम्मा पाँच अर्ब ३७ करोड रकम खर्च भएको छ । हामीले मितव्ययी निर्वाचन सम्पन्न गर्न सफल भएका छौँ,’ उनले भने ।

सरकारले निर्वाचन प्रयोजनका लागि ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति दिएको थियो ।

रविको मुद्दा अझै अनिर्णित, मुद्दा संशोधनको निर्णय झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दुई वटा कसुर फिर्ताविरुद्धको रिट अझै अनिर्णित भएको छ।

सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल पोखरेलको इजलासले चार दिनको सुनुवाइपछि बिहीबार महान्यायाधिवक्ताले अभियोगपत्र संशोधन सम्बन्धी गरेको पछिल्लो निर्णय लगायत सम्बन्धित फायल झिकाउन आदेश दिएको हो।

सुरुमा लामिछानेको मात्रै अभियोगपत्र संशोधन गरेर संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धि कसुर हटाउने निर्णय गरेको महान्यायाधिवक्ताको कार्यालयले माघ २ गते उनीसँग जोडिएका सहकारीका सबै प्रतिवादीविरुद्ध सहकारी ठगी बाहेकका कसुरमा अभियोग नलगाउने निर्णय गरेको थियो।

एमाले सचिव अर्यालले भनिन्- हामी सशक्त प्रतिपक्षको भूमिकामा उत्रिन्छाैँ

काठमाडौं । नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले निर्वाचन परिणामलाई स्वीकार गर्दै अब एमाले सशक्त प्रतिपक्षको भूमिकामा उत्रिने बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदको प्रमाणपत्र निर्वाचन आयाेगबाट प्राप्त गरेपछि उनले यस्तो बताएकी हुन् ।

उनले आगामी सरकारको नेतृत्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकरात्मक काममा सहयोग गर्ने पनि बताइन् । उनले एमाले स्थायित्वको पक्षमा रहेकोले निर्वाचनले देशलाई राजनीतिक स्थिरता दिएको उल्लेख गरेकी छन् ।

सचिव अर्यालले रोजगारी सिर्जना, उत्पादनमा वृद्धि, महिला र ज्येष्ठ नागरिकको सम्मान लगायतका काममा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।

राजनीतिक अस्थिरता नै विकास र समृद्धिको प्रमुख बाधक भएको उनकाे भनाइ छ । नयाँ शक्तिले झन्डै दुई तिहाइ जनसमर्थन पाएको अवस्थामा सरकारप्रति जनताको अपेक्षा अझ उच्च रहेको बताइन्।

यस्तै उनले एमालेले निर्वाचनमा पाएको असफलताको समिक्षा गर्ने गरेर कमी कमजोरीलाई सुधार गर्ने दाबी गरेकी छन् ।

सर्वदलीय बैठक सिंहदरबारमा जारी, बैठकमा ६ दल सहभागी

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेकाे छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने छ राजनीतिक दलका प्रतिनिधिहरु बैठकमा सहभागी छन् ।

निर्वाचन आयाेगले समानुपातिकतर्फका  सांसदहरूलाई निर्वाचित भएकाे प्रमाणपत्र दिएकाे र आजै राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउन लागेकाे बेला सर्वदलीय बैठक बसेकाे हाे ।

संसदका प्रवक्ता एकराम गिरीका अनुसार बैठकमा शपथकाे मिति सार्वजनिक गर्नेबारे छलफल भइरहेकाे बताए । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काङ्‍ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्त्र पार्टीका प्रतिनिधि सहभागी छन् ।

महानायक राजेश हमालको नाम बेचेर भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले महानायक राजेश हमालको नाम दुरुपयोग गरेर भ्रष्टाचार गरेकाे आराेपमा विशेष अदालतमा आराेपपत्र दायर गरेकाे छ ।

हमालकाे तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्र (डकुमेन्ट्री) का नाममा १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ हिनामिना गरेको अभियोगमा अख्तियारले भ्रष्टाचार मुद्दामा आराेपपत्र दायर गरेकाे हाे ।

अख्तियार प्रवक्ता सुरेश न्याैपानेका अनुसार अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो। सोही प्रकरणमा आर.जे. ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) लाई पनि प्रतिवादी बनाइएको छ।

हमालको नाम जोडेर व्यक्तिगत निर्देशनसमेत भई चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो भने मध्यमध्ये १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ भुक्तानी गरिएको थियो ।

तर, उक्त कार्यमा सार्वजनिक खरिद ऐन र नियमावलीको गम्भीर उल्लङ्घन गरिएको पाइएको अख्तियारको ठहर छ।

बिना प्रतिस्पर्धा र प्रक्रिया मिचेर सोझै खरिद सम्झौता गरिएको, कानुनी सीमाभन्दा बढी ३५ प्रतिशतसम्म पेस्की दिइएको र बैंक ग्यारेन्टीसमेत नलिई रकम भुक्तानी गरिएको अनुसन्धानमा खुलेको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

बालेनले गलत गरे खिलाफमा बोल्ने रास्वपा सांसद यादवको चेतावनी (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले बालेन प्रधानमन्त्री हुँदा गलत काम गरे विरोध गर्ने बताएका छन् ।

२०४६ यता सरकारमा रहेका पदाधिकारीहरूको फाइल खोल्ने भनिएकोमा नखोलिए विरोध गर्ने बताएका हुन् ।

उनले भने, ‘हामीले सरकारको खिलाफमा पनि बोल्ने हो, यदि उनले गलत काम गरे भने । उनले भनेका छन् कि २०४६ सालदेखिको फाइल खोल्छु ।’

सांसद यादवले मधेस समस्यै समस्यामा रहेको भन्दै चिन्ता प्रकट गरे । त्यही भएर मधेसले यसपटक रास्वपालाई विश्वास गरेको र विश्वास टुट्न दिन नहुने बताए ।

यी स्थानमा भोलि र पर्सि तीब्र हावाहुरीको चेतावनी, सतर्क रहन विभागको आग्रह

काठमाडौं । आगामी दुई दिन देशका विभिन्‍न ठाउँमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागका अनुसार लुम्बिनी र कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा तीव्र हावाहुरी चल्ने सम्भावना छ ।

विभागका अनुसार भोलि (६ गते शुक्रबार) दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ। पर्सि (शनिबार) पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा पनि तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ।

हावाहुरीको गति झण्डै ३३ मिटर प्रति सेकेण्ड (करिब ११९ किलोमिटर प्रतिघण्टा) पुग्न सक्ने विभागको अनुमान छ।

हावाहुरीको कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, साथै विद्युत तथा सञ्‍चार सेवा प्रभावित हुने जोखिम रहेको भन्दै विभागले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
विभागले जारी गरेको सूचनामा भनेको छ,‘ भोलि चैत्र ०६ गते (शुक्रबार) दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लाहरूमा तथा पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी (झण्डै ३३ मिटररसेकेण्ड वा करिब ११९ किमिरघण्टा) चल्ने सम्भावना रहेको छ।
यस कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्छ। त्यसैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

राजीनामा पत्रमा गगन थापाले के लेखेका छन् ? (भिडियो)

काठमाडौं । नेपाली काङ्‍ग्रेसका सभापति गगन थापाले राजीनामा पत्रमा विशेष महाधिवेशन सम्पन्‍न नगरी निर्वाचनमा गएको भए पार्टीको परिणाम अझ प्रतिकूल हुने बताएका छन्।

उपसभापति विश्‍वप्रकाश शर्मालाई बुधबार बुझाएको राजीनामा पत्रमा उनले उक्त निष्कर्ष उल्लेख गरेका छन् । ‘म स्पष्ट छु- यदि विशेष महाधिवेशन सम्पन्‍न नभई निर्वाचनको सामना गर्नुपरेको भए परिस्थिति र परिणाम अझ प्रतिकूल हुन्थ्यो,’ राजीनामामा लेखेका छन् ।

थापाका अनुसार विशेष महाधिवेशनले नेपाली कांग्रेसभित्र केवल नेतृत्व परिवर्तन मात्र नभई आत्मसमीक्षा र सुधारको प्रक्रिया सुरु गरेको थियो। उनले सो प्रक्रियाले पार्टीभित्र नयाँ ऊर्जा र उत्साह ल्याएको उल्लेख गरे।

यद्यपि, महाधिवेशनपछि परिवर्तनको सन्देश आम मतदातासम्म पुर्‍याउन पर्याप्त समय नपुगेको उनले स्वीकार गरेका छन्। समय अभावकै कारण पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको उनको बुझाइ छ।

थापाले आफ्नो नेतृत्वमा पार्टी निर्वाचनमा सहभागी भएको भन्दै परिणामप्रतिको जिम्मेवारीबाट आफू पछि नहट्ने स्पष्ट पारे। उनले भने, ‘परिणाम जस्तो आए पनि त्यसको जिम्मेवारी मेरो हो।’

उनले विशेष महाधिवेशनलाई पार्टीका लागि आवश्यक कदमका रूपमा व्याख्या गर्दै यसले भविष्यका लागि मार्ग प्रशस्त गरेको दाबी गरेका छन्।

थापाले लेखेकाे राजीनाकाे व्यहाेरा 

विशेष महाधिवेशनपछि पार्टी सभापतिको जिम्मेवारी सम्हाल्दै अत्यन्त छोटो समयमै निर्वाचनमा पार्टीको नेतृत्व गर्नु मेरो लागि अवसर र चुनौती दुवै थियो।

विशेष महाधिवेशनले केवल नेतृत्व परिवर्तन मात्र गरेको थिएन, त्यो नेपाली कांग्रेसभित्र बहुआयामिक सुधार र आत्मसमीक्षाको सुरूवात पनि थियो।

पार्टीभित्र सुरू भएको परिवर्तनले कार्यकर्तामा उत्साह जगाए पनि आम मतदातासम्म ‘बदलिएको कांग्रेस’ को सन्देश प्रभावकारी रूपमा पुर्‍याउन पर्याप्त समय प्राप्त हुन सकेन।

यसपटकको परिणामका प्रमुख कारणहरूमध्ये समयको यो सीमितता मुख्य कारण रहेको मेरो बुझाइ छ।

म स्पष्ट छु- यदि विशेष महाधिवेशन सम्पन्न नभई निर्वाचनको सामना गर्नुपरेको भए परिस्थिति र परिणाम अझ प्रतिकूल हुन्थ्यो। तथापि यस निर्वाचनमा पार्टी मेरो नेतृत्वमा सहभागी भएको थियो, त्यसैले मैले कति समय जिम्मेवारी सम्हालेँ वा कुन अवस्थामा सम्हालेँ वा नसम्हालेको भए के हुन्थ्यो भन्ने विषय गौण हो। वर्तमान परिणामप्रतिको जबाफदेहिता मेरो हो भन्नेमा म पूर्णतः स्पष्ट छु।

निर्वाचन सम्पन्न भएलगत्तै मैले राजीनामा दिने मनस्थिति बनाएको थिएँ तर निर्वाचनसँग सम्बन्धित आफ्नो जिम्मेवारीसँग जोडिएका अन्य आवश्यक कार्यहरू सम्पन्न गर्नुपर्ने भएकोले ती सम्पन्न गर्नासाथ मैले यो राजीनामा पेस गरेको हुँ।

आगामी दिनहरूमा म देशका विभिन्न भागमा पुगेर पार्टीका साथीहरूसँग र आम नागरिकसँग संवाद गर्नेछु, उहाँहरूको भावना बुझ्नेछु र सुझाव सुन्नेछु। नेपाली कांग्रेसको पुनर्निर्माण तथा सुदृढीकरणको यात्रामा सक्रिय रूपमा थप उर्जाका साथ संलग्न रहनेछु।

आज मैले पार्टीको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको हुँ, तर पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको छैन।

त्यसैले मेरो यो निर्णय अन्त्य होइन- यो त नेपाली कांग्रेसको आत्मसमीक्षा, जबाफदेहिता र पुनर्जागरणतर्फको एउटा प्रारम्भिक कदम हो।

समानुपातिक सांसदहरूले पाए निर्वाचित भएको प्रमाणपत्र (तस्बिरहरु)

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।

आयोगले बिहीबार एक कार्यक्रमका बीच समानुपातिकतर्फका १ सय १० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।

सांसदहरुलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा.जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गरे ।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनितिक दलले सिट प्राप्त गरेका थिए ।

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली काँग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४/४ सिट जितेका थिए ।

प्रत्यक्षतर्फ निर्वाचित भएका १ सय ६५ जना संसदलाई भने मतपरिणाम सार्वजनिक भएलगत्तै मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाण पत्र दिइएको थियो ।

काङ्‍ग्रेस बैठकमा गगनकाे राजीनामा अस्वीकृत प्रस्ताव पेस हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा  सभापति गगन थापाले दिएकाे राजीनामा अस्वीकृत प्रस्ताव पेस हुने भएकाे छ ।

एक नेताका अनुसार भाेलि बस्ने केन्द्रीय समिति बैठकबाट गगनकाे राजीनामा अस्वीकृत गर्न उक्त प्रस्ताव पेस गर्न लागिएकाे हाे ।

गगनले हिजाे पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा पत्र उपसभापति विश्‍वप्रकाश शर्मालाई थापाले बुझाएका थिए ।

निर्वाचनमा पार्टीले बेहाेरेकाे हारकाे नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन् ।

थापाले राजीनामा दिएपछि बस्न लागेकाे बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन् । सो बैठकमा शर्माले थापाले सभापति पदबाट राजीनामा दिएको औपचारिक जानकारी गराउने र सो राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि पेस गर्ने तयारी गरेको स्रोतले बतायो ।

पुस अन्तिम साता भएको कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएका थिए ।

थापा २१ फागुनको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लडे पनि रास्वपा उम्मेदवार अमरेस कुमार सिंहसँग पराजित भएका थिए ।

विशेष महाधिवेशनबाट चुनिएका र चुनाव लडेका सबै पदाधिकारी निर्वाचनमा पराजित भएपछि गगन थापामाथि नैतिक प्रश्न उठेको थियो ।

सडक दस्तुर संकलन अब डिजिटल प्रणालीबाट

काठमाडौं । नेपालमा सडक प्रयोग दस्तुर संकलन अब डिजिटल प्रणालीमार्फत हुने भएको छ।

नेपाल राष्ट्र बैंक ले मंगलबार वाणिज्य बैंकहरूलाई रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) आधारित प्रिपेड ट्याग कार्ड जारी गर्न अनुमति दिएको छ।

नयाँ व्यवस्थाअनुसार, बैंकहरूले यी प्रिपेड ट्याग कार्ड सवारीसाधन मालिकलाई उपलब्ध गराउनेछन्।

सवारीसाधनमा जडान गरिने कार्डले टोल नाकामा रोकिनु नपरी स्वचालित रूपमा शुल्क कट्टा गर्नेछ। यसले नगदरहित भुक्तानीलाई प्रोत्साहन गर्ने र यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकले जारी गरेको परिपत्रमा भनिएको छ कि यस डिजिटल प्रणालीले सडक टोल संकलनमा पारदर्शिता र दक्षता बढाउनेछ। साथै, यो पहल नेपालमा डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने दीर्घकालीन रणनीतिसँग पनि जोडिएको छ।

उद्योग र बैंकिङ स्रोतहरूका अनुसार, अब टोल संकलनमा बैंकहरूको भूमिका बढ्दा ट्राफिक व्यवस्थापन र नगद संचालनमा देखिने समस्या कम हुने सम्भावना छ। आगामी समयमा ‘स्मार्ट ट्रान्सपोर्ट’ अवधारणा कार्यान्वयनमा अझ मजबुत हुने देखिन्छ।

ल्यापटपकाे मूल्य ४० प्रतिशत बढ्ने !

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा बढ्दो कम्पोनेन्ट लागत र आपूर्ति अभावका कारण ल्यापटपको मूल्य करिब ४० प्रतिशतसम्म बढ्न सक्ने देखिएको छ।

प्रविधि बजार विश्लेषण संस्था ट्रेन्डफाेर्सका अनुसार यदि उत्पादकदेखि खुद्रा विक्रेतासम्मका सबै पक्षले आफ्नो नाफा मार्जिन यथावत राख्ने हो भने मूल्यवृद्धि उल्लेखनीय रूपमा देखिनेछ। हाल करिब ९०० डलर पर्ने मुख्यधाराको ल्यापटपको मूल्य बढेर करिब १,२६० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

यस मूल्यवृद्धिको मुख्य कारण मेमोरी (र्‍याम) र स्टोरेज (एसएसडी) चिपहरूको अभाव रहेको बताइएको छ। विशेषगरी एनएएनडी स्टोरेज चिपको आपूर्ति कमजोर हुँदा यसको मूल्य उच्च बनेको छ। यससँगै इन्टेलले आफ्ना नयाँ पुस्ताका प्रोसेसरहरूको मूल्य बढाउँदा समग्र उत्पादन लागतमा थप दबाब परेको छ।

यसअघि ल्यापटप निर्माणमा प्रयोग हुने प्रमुख कम्पोनेन्ट र्‍याम, एसएसडी र सीपीयुको कुल हिस्सा करिब ४५ प्रतिशत रहने गरेको थियो। तर पछिल्ला घटनाक्रमपछि यो हिस्सा बढेर करिब ५८ प्रतिशत पुगेको छ, जसले उत्पादन लागतमा उल्लेखनीय वृद्धि भएको संकेत गर्छ।

यद्यपि, कच्चा पदार्थको लागत करिब १३ प्रतिशतले मात्र बढेको देखिए पनि आपूर्ति शृङ्खलामा रहेका विभिन्न तहले आफ्नो नाफा सुरक्षित राख्न खोज्दा अन्तिम उपभोक्ताले तिर्नुपर्ने मूल्य धेरै बढ्ने अपेक्षा गरिएको छ।

उद्योगसँग सम्बन्धित स्रोतहरूका अनुसार, मेमोरी र स्टोरेजको अभाव अझै केही समय कायम रहने सम्भावना छ। स्टोरेज क्षेत्रका केही प्रमुख कम्पनीहरूले त एनएएनडी अभावकै कारण आपूर्ति सुनिश्चित गर्न नसक्ने कम्पनीहरू बन्द हुने जोखिम समेत औंल्याएका छन्।

अब ९ मिनेटमै ईभी गाडी चार्ज, चीनले गर्‍याे चमत्कार

काठमाडौँ । चीनले ९ मिनेटमै चार्ज हुने गाडी बजारमा ल्याएको छ । याे इलेक्ट्रिक भेहिकल (इभी)को क्षेत्रमा चीनले गरेकाे चमत्कार हाे ।

प्रख्यात चिनियाँ इलेक्ट्रिक कार कम्पनी ‘बीवाईडी’ले आफ्नो नयाँ गाडी फाङ छेङ बाओ टी ३ को ‘फ्ल्याश चार्जिङ एडिसन’ ल्याएको हो ।

यो कारको विशेषता भनेकै सुपर फास्ट चार्जिङ स्पीड हो ।

सामान्य तापक्रममा यो गाडी ९ मिनेटमै फुल चार्ज हुने र ६२० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । माइनस ३० डिग्री तापक्रममा पनि यो गाडीको चार्जिङ स्पीडमा ३ मिनेटमात्र फरक पर्ने जनाइएको छ ।

यो गाडीमा एआईको समेत प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

यसमा ‘गड्स आई’ नामक ड्राइभर असिस्टेन्ट सिस्टम रहेको र सेन्सर तथा क्यामेराको मद्दतले सडकमा हुने सम्भावित खतरा पहिचान गरी गाडीलाई सुरक्षित राख्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

 

झापा एफसीविरुद्ध आर्मीको ५-० को जित

काठमाडौं । शहीद स्मारक एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लबले सानदार सुरुवात गरेको छ ।

आजदेखि सुरु लिगकाे दाेस्राे खेलमा आर्मी क्लबले झापा एफसीलाई ५-० गोल अन्तरले पराजित गर्‍याे ।

आर्मीको जितमा अन्जना थुलुङ राईले २ गोल गरिन् । दिपा शाही, हिमा चौधरी र तुलसा बोहोराले एक/एक गोल गरेका थिए ।

आजै भएकाे पहिलो खेलमा संकटा क्लबले एनआरटीलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।

अन्तरजातीय प्रेमको दु:खान्त : धनुषाकी विभाको रहस्यमय मृत्यु

काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ मा मंगलबार घटेको एक घटनाले फेरि समाजलाई झस्काएको छ।

२५ वर्षीया विभाकुमारी महतो आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परिन्। पहिलो दृष्टिमा यो आत्महत्याजस्तो देखिए पनि घटनाले गम्भीर प्रश्नहरू उठाएको छ, के यो साँच्चिकै आत्महत्या हो, वा कुनै लुकेको सत्य बाहिर आउन बाँकी छ ? त्याे प्रहरी अनुसन्धानपछि खुल्ला ।

तर, घटनाअघिकाे पृष्ठभूमि खाेतल्नैपर्छ । विभा र मुकेश यादवको प्रेम सम्बन्ध पाँच वर्ष अघिदेखिकाे हाे । उनीहरुकाे प्रेमले जातीय सीमा नाघेकाे थियाे । जब उनीहरूले परिवार र समाजको परम्परागत सोचलाई चुनौती दिँदै अन्तरजातीय विवाह गरे, समाजले त स्वीकारेन, घरपरिवारलाई पनि स्वीकार्य भएन ।

व्यावहारिक जीवनमा उनीहरूले अनेक दबाब र चुनौतीको सामना गर्नुपर्‍याे । यहीबीच विभाकाे शव फेला पर्‍याे । विभाकाे माइती पक्षले घटना हत्यासँग जाेडेका छन् र उनकाे वैवाहिक जीवन सहज नभएकाे दाबी गरेकाे छ ।  विभाको दाजु मनिषकुमार महतोका अनुसार विवाहको पाँच वर्ष बितिसक्दा पनि सन्तान नभएको विषयलाई लिएर विभामाथि बारम्बार शारीरिक र मानसिक यातना दिइन्थ्यो।

नेपाली समाजमा सन्तान नहुँदा महिलामाथि गम्भीर सामाजिक दबाब थाेपरिन्छ, जसले उनीहरूको आत्मसम्मान र मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ। विभाको हकमा पनि यस्तै दबाबले उनको जीवनमा कति असर गर्‍यो भन्ने प्रश्न उठेको छ।

यी प्रश्नकाे जवाफ पनि प्रहरीले अनुसन्धानकाे क्रममा गर्ला तर घटनाको सबैभन्दा संवेदनशील पक्ष भनेको उनको मृत्युको प्रकृति हो। विभा झुन्डिएको अवस्थामा भेटिए पनि माइती पक्षले उनको शरीरमा नीलडाम देखिएको दाबी गरेको छ। यसले घटना सामान्य आत्महत्या नभई हत्या हुनसक्ने आशंकालाई बल दिएको छ। यही आधारमा उनका दाजुले पति मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीसमक्ष जाहेरी दिएका छन्।

प्रहरीले जाहेरीका आधारमा मुकेशलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। अहिले घटनालाई आत्महत्या दुरुत्साहनको कोणबाट हेरेर अनुसन्धान अघि बढाइएको छ। तर, वास्तविकता के हो भन्ने निष्कर्ष आउन बाँकी नै छ।

यो घटना केवल विभाकाे मृत्युको कथा मात्र होइन, यो हाम्रो समाजको गहिरो संरचनागत समस्याको प्रतिबिम्ब पनि हो। अन्तरजातीय विवाह गर्ने जोडीहरूले अझै पनि सामाजिक स्वीकृति पाउन संघर्ष गर्नुपर्छ। त्यसमाथि सन्तान नहुनुजस्ता विषयले पारिवारिक तनावलाई अझ जटिल बनाउँछ।

साथै, घरेलु हिंसाका घटनाहरू अझै पनि धेरैजसो अवस्थामा दबाएरै राखिएका हुन्छन् । पीडितले समयमै आवाज उठाउन नसक्दा यस्ता घटनाहरू कहिलेकाहीँ यस्तै दुःखद अन्त्यमा पुग्छन्।

चिनियाँ राष्ट्रपति सीको किताब जलाइएको घटनामा छानबिन सुरु

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनफिङकाे पुस्तक जलाइएकाे घटनामा माेरङ प्रशासनले छानबिन थालेकाे छ ।

नेपालस्थित चिनियाँ राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत चासाे राखेपछि गृह मन्त्रालयले स्थानीय प्रशासनलाई घटनाकाे छानबिन गरेर कारबाही गर्न निर्देशन दिएकाे थियाे । साेहीअनुसार माेरङ प्रशासनले राष्ट्रपति सीको पुस्तक ‘द गभर्मेन्स अफ चाइना’ जलाइएको घटनाबारे छानबिन अघि बढाएको हाे ।

आफ्ना राष्ट्रपति सीकाे पुस्तक जलाइएको विषयलाई चीनले गम्भीर रूपमा लिएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार घटनाबारे मनमोहन टेक्निकल इन्स्टिच्युटबाट पत्रको जवाफ आइसकेको बताए । प्राप्त जवाफका बारेमा आफूहरूले छलफल गरिरहेको उनले बताए ।

तर, उनले घटनाबारे प्राप्त विवरण हेर्दा निकै कुरा शङ्‍‍कास्पद रहेकाे बताए । उनका अनुसार मनमोहन टेक्निकल इन्स्टिच्युटले कलेजमा रहेका अन्य काम नलाग्ने कागजात जलाउने क्रममा सो पुस्तक पनि जलाएको जनाएको छ ।

‘हामी कानुन बनाउन आएका हौँ, मन्त्री बन्न होइनौँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई पुरानो राजनीतिक संस्कार त्याग्न र गुटबन्दीमा नलाग्न निर्देशन दिएका छन् ।

सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बुधबार बोल्दै लामिछानेले सांसदहरूको मुख्य काम कानुन निर्माण गर्नु रहेको भन्दै स्वार्थ समूहको पछि नलाग्न सचेत गराए ।

पुराना राजनीतिक दलहरूले जस्तै आफूलाई केन्द्रमा राखेर राजनीति गरे रास्वपाको हविगत पनि उनीहरूको भन्दा नराम्रो हुने चेतावनी उनले दिए ।

देशलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बेला आएको भन्दै उनले मन्त्री वा प्रधानमन्त्री बन्ने व्यक्तिगत सपनाको भारी यो समाजले नबोक्ने स्पष्ट पारे ।

देशमा विचौलियाहरूको बिगबिगी रहेको तर्फ सचेत गराउँदै उनले कुनै पनि विचौलियासँग साँठगाँठ गर्नु वा चिया खानुअघि आफ्नो छोरा गुमाएर संसदमा पुगेकी ‘शहीदकी आमा’लाई सम्झन सांसदहरूलाई आग्रह गरे ।

जनताले पुराना दलहरूलाई ३६ वर्ष कुरे पनि रास्वपालाई ३६ महिना वा ३६ दिन पनि कुर्ने धैर्यता नभएको यथार्थलाई बुझ्न उहाँले आग्रह गरे ।

सरकारी अस्पतालमा उपचार गराउन आफ्ना सांसदहरूलाई रविकाे आग्रह

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारी अस्पतालमा सकेसम्म उपचार गराउन आफ्ना सांसदहरूलाई आग्रह गरेका छन्  ।

आकस्मिक अवस्थामा भन्दा बाहेक सरकारी अस्पतालमा उपचार गराउन उनले आग्रह गरेका हुन् ।

उनले बुधबार ग्वार्काेमा आयाेजित अभिमुखीकरणामा भने, ‘सक्नुहुन्छ भने सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् । सेवालाई चुस्त बनाउनुस् । म बाध्यकारी भन्दिनँ ।’

उनले जनताले दिएको ठूलो जिम्मेवारी ग्रहण गर्नुपर्ने बताउँदै यसलाई ख्याल गर्न आग्रह गरे ।

 

रवि लामिछाने पुगे सांसदहरूलाई पढाउन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफ्ना सांसदहरूलाई अभिमुखीकरण दिन ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिप पुगेका छन् ।

उनी केही दिनदेखि बिरामी थिए । स्वास्थ्य अवस्था ठीक भएपछि उनी अभिमुखीकरणका लागि पुुगेका हुन् ।

भावी प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह भने गएका छैनन् ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार उनी पनि बिरामी छन् । तर, उनलाई भएको के होला ? रास्वपा नेताहरूले खुलाएका छैनन् ।

शव लगेर खाेटाङ पुगेकाे हेलिकप्टर दुर्घटना

काठमाडौं । शव लिएर खोटाङ पुगेकाे हेलिकोप्टर दुर्घटनामा परेको छ ।

जिल्लाकाे केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाको बालाबेसीमा पुगेकाे हेलिकोप्टर दुर्घटनामा परेको हो ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको हाे ।

तर दुर्घटनामा मानवीय क्षती नभएको उनले बताइन् । उनका अनुसार बारीको डिलमा ल्यान्ड हुन लागेकाे हेलिकप्टरलाई उठाएर बीचमा लैजान खोज्दा दुर्घटना भएको हाे ।

मधेसमा लिखित परीक्षाबिना ट्याक्टर र ई–रिक्साको लाइसेन्स !

काठमाडौं । मधेस प्रदेश सरकारले ई-रिक्सा, अटो र ट्याक्टर चलाएर जीविकोपार्जन गर्ने विपन्‍न तथा निरक्षर नागरिकलाई लिखित परीक्षा नलिई सिँधै प्रयोगात्मक (ट्रायल) परीक्षामार्फत लाइसेन्स दिने भएको छ ।

सय दिने उपलब्धी सार्वजनिक गर्दै मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण यादवले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा महत्वपूर्ण सहजीकरण गर्ने बताए ।

मुख्यमन्त्री यादवले प्रदेशमा ठूलो सङ्ख्यामा रहेका यस्ता चालकहरूको बाध्यतालाई बुझेर लिखित परीक्षा नलिई सिँधै प्रयोगात्मक (ट्रायल) परीक्षामार्फत लाइसेन्स दिने कानुनी आधार तयार पारिएको घोषणा गरे ।

मुख्यमन्त्रीले मोटरसाइकलजस्ता सवारी साधनहरू सौख र व्यक्तिगत प्रयोजनका लागि बढी प्रयोग हुने भएपनि ई-रिक्सा र ट्याक्टर पूर्णरूपमा गरिबको पेट पाल्ने माध्यम भएकाले यसलाई पहिलो प्राथमिकतामा राखिएको प्रस्ट पारे ।

यस निर्णयले मधेस प्रदेशका हजारौँ विपन्‍न मजदुरहरूलाई कानुनी रूपमै सवारी चलाएर आफ्नो जीविकोपार्जन गर्न बाटो खुला गर्ने उनकाे विश्‍वास छ ।

उनले भने, ‘हाम्रो प्रदेशमा गरिबी छ । धेरै नागरिकसँग ई-रिक्सा र ट्याक्टर चलाएर मजदुरी गर्नुको विकल्प छैन । तर उनीहरू पढेलेखेका छैनन् र ऐन–कानुनले लाइसेन्सबिना सवारी चलाउन दिँदैन । निरक्षर भएकै कारण लिखित परीक्षा पास गर्न नसक्ने तर सवारी चलाउन पोख्त रहेका नागरिकको रोजगारी नगुमोस् भनेर सरकारले यो कदम चालेको हो ।’

मधेस सरकारले स्वास्थ्य उपचार अनुदान वितरणको विद्यमान झन्झटिलो र अव्यावहारिक कार्यविधिलाई पूर्ण रूपमा परिवर्तन गर्ने बताएको छ ।

मुख्यमन्त्री यादवले बिरामीले उपचारका लागि निवेदन दिने तर अनुदान रकम निकासा हुँदासम्म बिरामीकै मृत्यु भइसक्ने दुःखद् अवस्थाको अन्त्य गर्न नयाँ कार्यविधि ल्याउन लागिएको जानकारी दिए ।

यसका साथै, प्रदेश सरकारले स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउन मोबाइलबाटै ई-टिकट काट्न सकिने व्यवस्था लागू गर्न लागेको बताए ।

विगत दुई वर्षदेखि प्रदेशका स्वास्थ्य निकायहरूमा औषधि खरिद नभएको गम्भीर समस्यालाई औँल्याउँदै मुख्यमन्त्रीले यसपालि खरिद प्रक्रिया अगाडि बढाइसकिएको र चाँडै नै अस्पतालहरूमा औषधिको अभाव समाधान हुने प्रतिवद्धतासमेत व्यक्त गरे ।

एमाले महासचिव शंकर पोखरेलको ठहर– रास्वपाको जित लहर मात्र हो

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावमा भएकाे जितलाई दीर्घकालीन स्थायित्वसँग जोड्न नहुने बताएका छन् ।

हालैको चुनावी परिणामबारे प्रतिक्रिया दिँदै पोखरेलले रास्वपाको सफलता तत्कालीन लहरको परिणाम भएको बताएका हुन्। उनले इतिहासतर्फ संकेत गर्दै सन् १९८४ को भारतीय आम चुनावमा देखिएको राजीव लहरको उदाहरण दिएका छन्।

उनका अनुसार त्यसबेला राजीव गान्धीको नेतृत्वमा कांग्रेस (आई) ले अत्यधिक बहुमत हासिल गरे पनि समयसँगै कमजोर बन्दै गएको थियो।

त्यतिबेला कमजोर अवस्थामा रहेको भारतीय जनता पार्टी (भाजपा) पछि विस्तारै बलियो बन्दै अहिले नरेन्द्र माेदीको नेतृत्वमा निरन्तर सत्तामा रहन सफल भएको उनले स्मरण गराए।

पोखरेलले यस्ता उदाहरणले चुनावी जित मात्र पर्याप्त नहुने स्पष्ट पार्ने बताए। ‘लहरले जित दिलाउन सक्छ, तर त्यसलाई दीर्घकालीन बनाउने कुरा संगठन, नीति र जनअपेक्षा पूरा गर्ने क्षमतामा निर्भर हुन्छ,’ उनले सामाजिक सञ्‍जाल फेसबुकमा बुधबार लेखे ।

उनले राजनीतिक दलहरूलाई अल्पकालीन उत्साहभन्दा दीर्घकालीन रणनीतिमा केन्द्रित हुन सुझाव दिएका छन्। साथै, जनताको विश्वास कायम राख्न निरन्तर काम र परिणाममुखी नेतृत्व आवश्यक हुने उनको जोड थियो।

पो

‘प्रचण्डजीले चुनाव जितेको मोबाइल कमजोर भएर’ (भिडियो)

काठमाडौं । नेपाली काङ्‍ग्रेसका नेता मीन विश्वकर्माले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वमा माेबाइल कमजाेर भएर मात्रै जितेकाे बताएका छन् ।

नभए उनी हार्ने थाहा पाइएकाे बताए । सहरतिर चुनाव लडेकाे भए ‘प्रचण्ड’ हार्ने उनकाे भनाइ छ ।

‘रुकुम नपुगेकाे भए प्रचण्डजीकाे पनि उस्तै हुने रहेछ, सहरतिर लडेकाे भए । धन्‍न माेबाइल कमजाेर भएर प्रचण्डजीले जितेकाे थाहा पाइहालियाे,’ उनले काठमाडौं आयाेजित कार्यक्रममा भने ।

उनले पार्टी सभापति गगनकुमार थापालाई हराउन लागेकाे भन्‍ने आराेपलाई इन्कार गरे ।

‘अब यस्ताेगरी हारेकाे हुनाले कसैले कसैलाई हराएकाे हाेइन । समयले हामी आफैँलाई हरायाे,’ उनले भने, ‘ल गगनजीलाई त हराइएछ, ओलीजीलाई कसले हराएकाे ?’

अर्को चुनावबाट प्रतिपक्षीविहीन बनाउनेगरी काम गर्ने रास्वपा उपसभापित अर्यालको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले अर्को निर्वाचनमा जनताले रास्वपालाई मात्रै मतदान गर्नेगरी काम गर्नुपर्ने बताएका छन्।

रास्वपाले मङ्‍गलबारदेखि आयोजना गरेको सांसदहरुको अभिमुखीकरणमा उनले आगामी पाँच वर्ष पार्टीले प्रतिपक्षविहीन बनाउने गरी काम गर्नुपर्ने बताए ।

उनले आगामी निर्वाचनसम्म पुग्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी पार्टीलाई मत दिने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

उक्त लक्ष्य हासिल गर्नको लागि भाषण वा सीमित नेताहरूको प्रयासबाट मात्रै सम्भव नहुने भन्दै उनले सबैले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए ।

उनले अब बन्‍ने सरकारले सुशासन कायम गर्ने, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने र भ्रष्टाचार अन्त्य गर्नेगरी काम गर्नुपर्ने उल्लेख गरे ।

निर्वाचनमा पार्टीले जित हासिल गरे पनि देश र जनताले जित्न बाँकी रहेको बताए ।

उपसभापति अर्यालले दूरदराजका नागरिकसम्म राज्यको उपस्थिति अनुभूत हुने वातावरण सिर्जना गरी जनताको सरकार रहेको आभास दिलाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले पार्टीका सांसदहरुलाई आफ्नो क्षमता र लगनशीलता राष्ट्रहितमा समर्पित हुन आग्रह गरे ।

 

आधा सिलिण्डर ग्यास पाउँदा उपभोक्ताहरू हर्षित

काठमाडौं । उपभोक्ताहरुले आधा सिलिण्डर एलपी (खाना पकाउने) ग्याँस बिक्री वितरण गर्दा आफूहरुले राहत पाएको बताएका छन् ।

मंगलबार काठमाडौंको टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा ग्यास लिन पुगेका उपभोक्ताहरुले संकटमा राहत पाएको भन्दै आयल निगमप्रति आभारसमेत व्यक्त गरेका छन् ।

गाह्रो भइरहेको बेला आधा सिलिण्डर भएपनि ग्याँस पाउँदा खुसी लागेको उनीहरुको प्रतिक्रिया थियो ।

एक उपभोक्ताले भने, ‘ग्यास कतै नपाएर यहाँ त्रिपुरेश्‍वरतिर लिन आएको छु । अब यहाँ आधा पाएकाे छु । ९५५ प्राइज त भइहाल्यो । यस्तै हो । गाह्रो भइरहेकाे छ सबैलाई । त्यही भएर आधा पाए पनि खुसी छु । काम चलाउन भयाे । पछि के हुन्छ । सबैले मिलेर समस्या समाधान गरौँला । समयअनुसार सबै कुरा ठिकै हुन्छ भनेर भन्छु ।’

नजिकको ग्यास डिपोमा १० दिन कुर्दा पनि ग्यास नपाएपछि हैरानी व्यहोरेकी अर्की उपभोक्ताले आधि सिलिण्डर भए पनि उपलब्ध गराएको भन्दै नेपाल आयल निगमप्रति आभार व्यक्त गरे ।

उपभोक्ताहरुले ग्यासको अभावमा आफूहरु भोकभोकै बस्नुपर्ने अवस्था आएको गुनासो पनि गरेका छन् ।

उनले भने , ‘म कलंकी बस्छु । मैले १० दिन भयो खसी बजारमा नाम लेखाएको । तर मेरो चाहिँ कहिल्यै पनि पालो आएन । आज त मेरो तल बस्ने भाइहरुको ग्यासै सकियो । खाना पाकेन उनीहरुको । आज चाहिँ अति भयो भनेर धेरै ठाउँमा फोन गर्दा बल्ल थाहा भयो यहाँ दिइराखेको भनेर । आधार सिलिण्डर भएपनि लिइयो ।’

यता, आयल निगमले भने उपभोक्ताहरुको अभाव पूर्ति हुनेगरि वितरणको काम भइरहेको दाबी गरेको छ ।

निगमका प्रतिनिधि विनोदकुमार वैद्यले उपभोक्ताले रित्तो हात फर्कन नपर्ने गरी वितरणको व्यवस्था मिलाइएको बताए ।

पछिल्लो २४ घण्टामा विपदका ७३ घटना, ४ जनाको मृत्यु, क्षति अढाई करोड बढी

काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा विभिन्न प्राकृतिक तथा गैर-प्राकृतिक विपद्का घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् ।

साढे २ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ । नेपाल गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार देशका ४३ जिल्लामा विपद्का घटनाहरू रेकर्ड भएका हुन् ।

चैत २ गते बिहान १० बजेदेखि चैत ३ गते बिहान १० बजेसम्मको अवधिमा देशभर कुल ७३ वटा विपद्का घटना घटेका छन् ।

यी घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा हावाहुरीबाट २ जना, सर्पदंशबाट १ जना र चट्याङ लागेर १ जना रहेका छन् ।

यस अवधिमा सबैभन्दा बढी हावाहुरीका ४६ वटा र आगलागीका १२ वटा घटना दर्ता भएका छन् । विपद्का कारण २ करोड ४१ लाख ६ हजार ९ सय रुपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ ।

साथै, २७ वटा चौपायाको समेत क्षति भएको छ । यी घटनाहरूको उद्धार र व्यवस्थापनका लागि ३ सय ४९ जना प्रहरी परिचालन गरिएको थियो ।

प्राधिकरणको तथ्यांकअनुसार २०८२ साल वैशाख १ गतेदेखि चैत ३ गतेसम्म देशभर कुल ६ हजार ९ सय ५१ वटा विपद्का घटना भइसकेका छन् ।

यी घटनाहरूमा परी हालसम्म ४ सय ७५ जनाले ज्यान गुमाएका छन् भने ३८ जना अझै बेपत्ता छन् । त्यसैगरी, १ हजार ८ सय ४६ जना घाइते भएका छन् भने १२ हजार ६ सय ५० परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

यस वर्ष सबैभन्दा बढी मानवीय क्षति आगलागीबाट भएको छ । जसमा १०० जनाको मृत्यु भएको छ । त्यसपछि सर्पदंशबाट ९८, पहिरोबाट ७४, जनावरको आक्रमणबाट ५४ र चट्याङबाट ४७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

मौसम तथा तापक्रमको अवस्था

पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा वर्षा भएको छ । प्राधिकरणकाअनुसार ३ सय ३४ वटा वर्षा मापन केन्द्रमध्ये १२३ वटा केन्द्रमा वर्षा रेकर्ड गरिएको छ । सबैभन्दा बढी वर्षा धनकुटा जिल्लाको मुलघाट केन्द्रमा ३५.० मिलिमिटर मापन गरिएको छ ।

तापक्रमतर्फ, देशकै सबैभन्दा बढी गर्मी रुपन्देहीको भैरहवामा महशुस गरिएको छ, जहाँको अधिकतम तापक्रम ३४.५ डिग्री सेल्सियस पुगेको छ ।

त्यसैगरी, सबैभन्दा चिसो मनाङको हुम्देमा रेकर्ड गरिएको छ, जहाँको न्युनतम तापक्रम माइनस ८.५  डिग्री सेल्सियस मापन गरिएको छ ।

राष्ट्रपति सीको किताब जलाएकोमा चीनको चासो, जलाउनेलाई कारबाही गर्न गृहको निर्देशन

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको घटनाप्रति चीनले चासाे राखेकाे छ ।

नेपालस्थित चिनियाँ दूतावासमार्फत चासो देखाएकाे हाे । दूतावासले कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयमा चासाे राखेपछि गृह मन्त्रालयले घटनामा संलग्नलाई कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ ।

मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको हो ।

सो घटनाका सम्बन्धमा अनुसन्धान गर्न दोषीलाई कानुनी दायरामा ल्याउन मोरङको प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई गृहमन्त्रालयले निर्देशन दिएको छ ।

चिनियाँ राष्ट्रपति सीकाे किताब केही दिनअघि मोरङको मनमोहन टेक्निकल इन्टच्युटमा जलाएकाे भिडियाे सार्वजनिक भएकाे थियाे । यसप्रति चीन रुष्ट छ ।

दुई देशबीचकाे सम्बन्धमा असर पुर्‍याउने खालकाे यस्ता गतिविधि हुँदासमेत प्रधानमन्त्री सुशीला कार्की माैन छिन् ।

डा. स्वर्णिम वाग्ले पूर्वाग्रही, २००७ सालको क्रान्तिको श्रेय दिएनन् कांग्रेसलाई (भिडियो)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्ले २००७ सालको क्रान्ति नेपाली कांग्रेसको नेतृत्वमा भएको भन्न हिच्किचाएका छन् । उनले उक्त क्रान्ति प्रजा परिषद्सहित केही समूहको बलमा भएको बताए ।

‘सात सालको आन्दोलन प्रजा परिषद्लगायत अन्य समूहहरूले सुरु गर्नुभयो । राणाशासन धराययी बन्यो,’ मङ्‍गलबारदेखि रास्वपा सांसदहरूका लागि आयाेजित अभिमुखीकरणमा उनले काङ्‍ग्रेसलाई आन्दाेलनकाे श्रेय नदिइ प्रजा परिषद्लाई दिए ।

नेपालको पहिलो दल प्रजा परिषद् हो । सोही दलले राणाशासनविरुद्ध देशमा विद्रोह थालेको थियो । तर, राणाशासनविरुद्ध सशस्त्र क्रान्ति भने नेपाली कांग्रेसले गरेको थियो ।

२००७ सालको कात्तिक २१ गते सशस्त्र क्रान्तिको घोषणा कांग्रेसले गरेको थियो । मुक्ति सेना तयार गर्‍यो । मातृकाप्रसाद कोइराला क्रान्तिका मुख्य कमान्डर थिए ।

भीषण क्रान्तिलाई तत्कालीन राणा सरकारले थेग्न सकेन । त्यहीबीच राजा त्रिभुवन नेपाल दरबार छाडेर दिल्ली पुगे । अढाई वर्षे ज्ञानेन्द्र शाहलाई राजा बनाइए ।

कांग्रेस नेतृत्वको सशस्त्र क्रान्तिलाई राणा सरकारले थेग्न सकेन । अन्ततः राणाप्रधानमन्त्री मोहन शम्शेरले घुँडा टेके । राजा, राणा र कांग्रेसबीच त्रिपक्षीय दिल्ली सम्झौता भयो । ७ फागुन २००७ सालमा नेपालमा राणाशासनको औपचारिक अन्त्य भयो । प्रजातन्त्र स्थापना भयो ।

कांग्रेसले गरेको सशस्त्र क्रान्तिको पहिलो शहदी थिरबम मल्ल भए । यसरी कांग्रेसको मूल नेतृत्वमा भएको २००७ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलन हाल रास्वपा सांसद रहेका डा. स्वर्णिम वाग्लेले प्रजा परिषद्लगायत केही समूह भनेर कांग्रेसको नाम उच्चारण गर्न हिच्किचाएका हुन् ।

डा. वाग्ले ती नेता हुन्, जो अढाई वर्षअघिसम्म कांग्रेस थिए । कांग्रेसबाटै उनी राष्ट्रिय योजना आयोगको सदस्य हुँदै उपाध्यक्षसम्म भए ।

दोस्रोपटक उपाध्यक्ष हुन उनी चाहन्थे । तर, कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले अर्का अर्थशास्त्री विश्व पौडेलेलाई उपाध्यक्ष बनाए, जाे अहिले नेपाल राष्ट्र बैँकका गभर्नर छन् ।

यसपछि वाग्ले रुष्ट भए । पार्टी नै छाडेर रास्वपा पुगे । यतिबेला त उनी २००७ सालको क्रान्ति कांग्रेस नेतृत्वमा भएको भन्नसमेत हिच्किचाउने अवस्थामा आइपुगेका छन् ।

 

जेन-जी विद्राेहले निजी क्षेत्र थप सङ्‍कटमा

काठमाडौं । गत भदाै २३ र २४ गते काे जेन-जी विद्राेहले तत्कालीन सत्तापलट त गर्याे, त्याे भन्दा बढी देशलाई गम्भीर आर्थिक क्षति पुर्‍यायाे ।

यसबीचमा करिब दुई खर्ब सार्वजनिक ऋण लिएकाे सरकारले जनाएकाे छ । निजी क्षेत्र त थप संकटमा परेको पाइएकाे छ ।

विद्राेहबाट भएको व्यापक भौतिक क्षतिपछि सरकारले तयार गरेको पुनर्निर्माण र पुनर्व्यवस्थापनका लागि विस्तृत कार्ययोजनामा उक्त निष्कर्ष निकालिएको हो ।

कार्ययोजना प्रतिवेदनअनुसार कोभिड-१९ पछिको कमजोर अर्थतन्त्र र बाह्य आर्थिक दबाबले पहिले नै प्रभावित निजी क्षेत्र आन्दोलनका कारण थप संकटमा परेको सरकारको निष्कर्ष छ ।

यस्तो अवस्थामा निजी सम्पती र व्यवसायको सुरक्षा राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै सरकारले पुनर्निर्माणमा सहजीकरण गर्ने नीति कार्ययोजनाबाट लिएको छ ।

कार्ययोजनाअनुसार स्थानीय तहलाई क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि नक्सापास शुल्कमा छुट दिन अनुरोध गरिनेछ । साथै, क्षतिको आधारमा निजी व्यवसायलाई तीन वर्षसम्म सम्पती कर छुट दिन पनि आग्रह गरिने भएको छ ।

बीमा भएका संरचनाको बीमा रकम तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ । यदि बीमा कम्पनीहरूमा तरलता अभाव भएमा नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत सहुलियत ब्याजदरमा अल्पकालीन कर्जा उपलब्ध गराउने व्यवस्था गरिनेछ ।

पूर्णरूपमा क्षति भएका निजी सवारीसाधनको लगत कट्टा गर्दा लाग्ने कर मिनाहा गर्न प्रदेश सरकारलाई अनुरोध गरिनेछ । त्यसैगरी, चालु पुँजी कर्जा लिएका तर सम्पती पूर्णरूपमा नष्ट भएका व्यवसायीलाई कर्जा किस्ताबन्दीमा रूपान्तरण गर्ने सुविधा प्रदान गरिनेछ ।

आन्दोलनबाट प्रभावित व्यवसायहरूको कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्ने अवधि २०८३ असार मसान्तसम्म थप गरिने भएको छ । व्यवसाय पुनः सञ्चालनका लागि आवश्यक समयअनुसार ‘ग्रेस अवधि’ थप गर्ने व्यवस्था पनि गरिनेछ ।

पुनर्निर्माणका लागि स्थिर ब्याजदरमा कर्जा लिन चाहनेलाई आधार दरमा ०.५ प्रतिशत मात्र प्रिमियम थप गरी पाँच वर्षसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यसैगरी, आन्दोलनका क्रममा सरकारी कार्यालय परिसरभित्र क्षति भएका निजी सवारीसाधन, मोबाइल, ल्यापटप तथा लत्ताकपडाका लागि राहत उपलब्ध गराइनेछ । प्रहरी मुचुल्काको आधारमा जिल्ला प्रशासन कार्यालयमार्फत कुल लागतको २५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरिएको छ ।

सरकारले लिएको पुनर्निर्माणको रणनीति बनाएको छ । जसअनुसार तत्कालिन रणनीतिमा  आन्दोलनको क्रममा सामान्य क्षति भएका भवन-संरचनाको मर्मतसम्भार तथा पुनर्निर्माणको पूर्वतयारी सम्बन्धी खर्च तीनै तहका सरकारले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने, सम्बन्धित निकायमा चालु आर्थिक वर्षमा विनियोजित रकमलाई रकमान्तर गरी व्यवस्थापन गर्ने नीति लिइएको छ भने सार्वजनिक क्षेत्रको पुनर्निर्माणको तीन वर्षीय रणनीति लिइएको छ ।

जसअनुसार आंशिक तथा पूर्ण क्षति भएका सरकारी भवन तथा संरचनाको पुनर्निर्माणको लागि आगामी दुई आर्थिक वर्ष भित्रमा सम्पन्न गर्ने गरी राष्ट्रिय आयोजना बैङ्क, मध्यमकालीन खर्च संरचना तथा मन्त्रालय स्तरीय बजेट सूचना प्रणालीमा प्रविष्ट गरी कार्यान्वयन गर्ने सरकारको रणनीति छ ।

त्यस्तै, पुनर्निर्माण कार्यका लागि तहगत लागत साझेदारी, समन्वय, सहजीकरण र सहयोग परिचालन गर्ने नीति सरकारको छ । जसअनुसार सेवा सञ्चालन गर्न आवश्यक पर्ने भवन र भौतिक सम्पतीको मात्र लागत अनुमान तयार गरी पुनर्निर्माण गर्ने सरकारको योजना छ ।

पितृशोकमा परेका ओलीप्रति राष्ट्रपति रामचन्द्र पौडेलको समवेदना (फाेटाे फिचर)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा परेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन् ।

ओली निवास भक्तुपुरको गुन्डु पुगेर राष्ट्रपति पौडेलले ओलीलाई समवेदना दिएको उनको सचिवालयले जनाएको छ ।

ओलीका पिता मोहनप्रसाद ओलीको यही शुक्रबार निधन ९७ वर्षको उमेरमा निधन भएको थियो ।

आइतबार प्रधानमन्त्री सुशीला कार्की, त्यही दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्ट पदाधिकारीहरू गएर ओलीप्रति समवेदना प्रकट गरेका थिए ।

 

रवि-बालेन दुवै बिरामी !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिरामी परेका छन् ।

लामिछाने घुुँडा दुख्ने समस्याबाट पीडित छन् । बालेनलाई भने के भएको ? खुलाइएको छैन ।

तर, रास्वपा उपसभापति डिपी अर्यालले आजदेखि सुरु भएको सांसदहरूका लागि आयोजित अभिमुखीकरणमा बिरामीका कारण सभापति लामिछाने र वरिठष् नेता बालेन्द्र सहभागी नभएको बताए ।

संसदमा रास्वपाको बहुमत, बैठक चलाउने जिम्मा काँग्रेसका केसीलाई

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुन नरसिंह केसीले नवगठित प्रतिनिधि सभाको पहिलो बैठकको अध्यक्षता गर्ने भएका छन्। समानुपातिक सूचीबाट निर्वाचित ७८ वर्षीय केसी प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य भएकाले यो अवसर पाउन लागेका हुन्।

संविधानको धारा ९० को उपधारा ५ मा सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ। यही संवैधानिक प्रावधानअनुसार केसीले पहिलो बैठकको बागडोर सम्हाल्नेछन्।

पहिलो बैठक बस्नुअघि सांसदहरूले शपथ लिनेछन्। ज्येष्ठ सदस्यकै हैसियतमा केसीले अन्य सांसदहरूलाई शपथ खुवाउनेछन् भने केसी स्वयंले राष्ट्रपतिबाट शपथ ग्रहण गर्नेछन्। पहिलो बैठकमा ज्येष्ठ सदस्यले आफ्नो अनुपस्थितिमा बैठक सञ्चालन गर्न अध्यक्ष मण्डलका सदस्यहरूको नाम पनि प्रस्ताव गर्नेछन्। राष्ट्रपतिले निर्वाचन आयोगबाट निर्वाचन परिणामको प्रतिवेदन बुझेको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक बाध्यता छ।

यदी केसीले संसद बैठकको अध्यक्षता गर्न नचाहेमा वा उपस्थित हुन नसकेमा यो अवसर सिताराम तामाङले पाउनेछन् । नेकपाका सांसद तामाङ ७३ वर्षका छन् ।

गत फागुन २१मा भएको निर्वाचनबाट रास्वापका झन्डै दुई तिहाइ सांसद निर्वाचित भएका छन् । २७५ जनाको प्रतिनिधि सभामा रास्वपाका मात्रै १८२ सांसद छन् । नेपाली काँग्रेस ३८ सिट सहित दोस्रो पार्टी बनेको छ ।

२०६४ को निर्वाचनपछि गठित पहिलो संविधान सभाको पहिलो बैठकमा ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले अध्यक्षता गरेका थिए। त्यही बैठकमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने ऐतिहासिक प्रस्ताव पारित भएको थियो। २०७० को निर्वाचनपछि गठित दोस्रो संविधान सभाको पहिलो बैठकमा भने पूर्वप्रधानमन्त्री तथा राप्रपा नेता सूर्यबहादुर थापाले ज्येष्ठ सदस्यको आसन सम्हाल्दै ५६५ सांसदलाई शपथ खुवाएका थिए।

संविधान जारी भएपछि भएको पहिलो संघीय निर्वाचन अर्थात् २०७४ को निर्वाचनपछि गठित प्रतिनिधि सभाको पहिलो बैठकमा राजपा नेपालका नेता महन्थ ठाकुरले ज्येष्ठ सदस्यकै हैसियतमा अध्यक्षता गरेका थिए। त्यस बैठकमा ठाकुरले सदन सञ्चालनका लागि अन्तरिम कार्यविधि, २०७४ पारित गर्ने प्रस्ताव राखेका थिए। २०७९ को निर्वाचनपछि गठित प्रतिनिधि सभाको पहिलो बैठकमा राप्रपाका पशुपतिशमशेर जंगबहादुर राणाले यो दायित्व निभाएका थिए। नागरिकताका आधारमा सन् १९४१ डिसेम्बर ९ मा जन्मिएका राणा सबैभन्दा ज्येष्ठ ठहरिएका थिए।

यसरी हेर्दा २०६४ मा कुलबहादुर गुरुङ, २०७० मा सूर्यबहादुर थापा, २०७४ मा महन्थ ठाकुर, २०७९ मा पशुपतिशमशेर जबरा र अब २०८२ मा अर्जुन नरसिंह केसी- प्रत्येक नयाँ सभाको पहिलो बैठकमा ज्येष्ठ सदस्यले नै अध्यक्षता गर्दै आएको परम्परा कायमै छ।

रास्वपा सांसदहरूका लागि अभिमुखीकरण सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सुरु भएकाे छ ।

दुई दिने अभिमुखीकरण कार्यक्रल ललितपुरमा मंगलबारदेखि सुरु भएको हो । अभिमुखीकरण कार्यक्रमको पार्टीका उपसभापतिहरु डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर उद्घाटन गरेका छन् ।

कार्यक्रममा निर्वाचित प्रत्यक्ष तथा समानुपातिकतर्फका सांसदहरु सहभागी रहेका छन् ।

रास्वपाले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १ सय ८२  सिट जितेको थियो । आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहितालगायत विषयमा अभिमुखीकरण र प्रशिक्षणका दिनका लागि रास्वपाले २ दिने कार्यशाला आयोजना गरेको जनाएको छ ।

अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्वन गर्नुपर्ने नीतिलगायतबारे  प्रशिक्षण दिइने जनाएको छ ।

आठ महिनामै थपियाे २ खर्ब ४ अर्ब २४ करोड सार्वजनिक ऋण

काठमाडौं । कुल गार्हस्थ्य उपात्दन (जीडीपी) मा कुल सावर्जनिक ऋणको हिस्सा ४७ दशमलव १३ प्रतिशत पुगेको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सरकारले सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब लिएसँगै जिडिपिमा ऋणको हिस्सा समेत बढेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार चालु आर्थिक वर्षको शुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा फागुन मसान्तसम्ममा सार्वजनिक ऋण दायित्त्व २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।

जुन कुल गार्हस्थ्य उत्पादनको ४७.१३ प्रतिशत हुन आउँछ । कुल सार्वजनिक ऋणमा फाल्गुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत रहेको छ ।

कार्यलयकाअनुसार चालु आवको आठ महिनामै सरकारले २ खर्ब ४ अर्ब २४ करोड सार्वजनिक ऋण लिएको छ ।

कति भयो परिचालन ?

चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्ममा २ खर्ब ९५ अर्ब १९ करोड ऋण प्राप्ति भएको छ ।

वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५०.४४ प्रतिशत रहेको छ, जसमध्ये आन्तरिक र वाह्य ऋण प्राप्तिको प्रगति क्रमश ६७.३१ र २४.३१ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा फागुन मसान्तसम्म २ खर्ब ४२ अर्व २६ करोड भुक्तानी भएको छ ।

यो वार्षिक बजेट विनियोजनको आधारमा ५८.९४ प्रतिशत हो । कूल गार्हस्थ्य उत्पादनको आधारमा माघ मसान्तसम्ममा कूल ऋण सेवा खर्च ३.९७ प्रतिशत रहेको छ ।

 

इजरायली प्रधानमन्त्री नेतान्याहुको हत्या गर्ने इरानको चेतावनी

अमेरिका–इजरायल–इरान द्वन्द्व १८ औं दिनमा पनि जारी रहेको छ ।

अमेरिकी र इजरायली अधिकारीहरूले इरानविरुद्ध लामो समयसम्म आक्रमण गरिरहने वाचा गरेका छन् ।

तेहरानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको हत्या गर्ने चेतावनी दिएको छ ।

इजरायली विदेशमन्त्री गिदोन सारले आफूहरुको लक्ष्य पूरा नभएसम्म इरानविरुद्धको लडाइँ जारी राख्न इजरायल र अमेरिकाको साझा संकल्प रहेको बताए ।

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै पश्चिमी र मध्य इरानका २०० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ ।

आदर्शका लागि आफ्नै आदर्शको त्याग? 

सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै भएको भदौरे जेनजी विद्रोहको जगमा बनेको सरकारले यही विद्रोहको मर्म विपरित प्रधानमन्त्रीका स्वकिय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्यो । सुशासनका मानकमा सन्तोषजनक काम गरिरहेको सुशिला कार्की सरकारले कार्यकालको अन्तिम क्षणमा आएर सडकमा रगत बगाएका युवाहरूको अपेक्षामाथि हिलो छ्याप्ने काम गरेको छ । 

नेपालमा सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि एउटा ठूलो चुनौति हो- राजनीतिक नियुक्ति । यस्ता नियुक्तिमा आर्थिक चलखेल हुनेदेखि आसेपासे र नातागोताको नियुक्तिबारे लगातार आलोचना भइरहेको थियो । सुशानको माग गर्ने जेनजी पुस्ताको एउटा माग यही बेथिति अन्त्य गरी खुला र पारदर्शी रुपमा योग्य र क्षमतावान व्यक्तिको नियुक्ति थियो। 

तर, आफ्नै स्वकिय सचिव श्रेष्ठलाई प्रधानमन्त्री कार्कीले कोषको अध्यक्ष बक्सिसमा दिइन् । पुनर्संरचनाको प्रतिक्षा गरिरहेको प्रकृति संरक्षण कोष वर्षौंदेखि योग्य र क्षमतावान नेतृत्व कुरिरहेको थियो । विगतमा विभिन्न दलका सरकारले त्यहाँ आसेपासे र बिचौलियालाई नियुक्ति दिँदा संस्थाको पुनर्संरचनाको विषयमा ओझेलमा परिरहेको थियो । 

नेपालमा पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ । पहाडमा बाँदरहरूको संख्या तथा कृषियोग्य जमिनमा अतिक्रमण बढ्दै जाँदा मानिसहरू गाउँ छोडेर विस्थापित भइरहेका छन् । यस्तै, बँदेलले ठूलो मात्रामा कृषि उपज नष्ट गर्दा किसानहरू मारमा परिरहेका छन् । मानव-वन्यजन्तु व्यवस्थापनका लागि अनुसन्धान, नीतिगत सुझाव र समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्नुपर्ने कोष निकम्मा हुँदा किसानको समस्या ज्युँका त्युँ छ । सुशासन र आर्थिक विकासको महत्वकांक्षी लक्ष्य सहित आउँदै गरेको नयाँ सरकारका लागि यी काम अत्यन्तै महत्वपूर्ण छन् ।

यस्तै, पहाडी क्षेत्रमा जंगल बढ्दै जाँदा जताततै चितुवाको आतंक बढ्न थालेको छ । चितुवा जंगलबाट गाउँसहर छिरेको र मानव तथा घरपालुवा पशुपन्छिमाथि आक्रमण गरेको खबर नियमित जस्तै आइरहेको हुन्छ । यसलाई नियन्त्रण गर्ने उपायको खोजि गर्ने र समुदायमा गएर मानिसहरूलाई सहायता गर्ने कार्यक्रम चलाउने जिम्मेवारी बोकेको कोष यसबाट बेखबर देखिन्छ । 

अर्कातिर, नेपालमा बाघलगायतका हिंस्रक जनावरको संख्या बढ्दै जाँदा मानवीय क्षति बढिरहेको छ । अन्तर्राष्ट्रय प्रोत्साहनका कारण बाघ संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेपनि अहिलेसम्म नेपालले बाघ-मानिस द्वन्द्व घटाउन प्रभावकारी कदम चाल्न सकेको छैन । मानव-वन्यजन्तु व्यवस्थापनमा भूमिका खेल्ने दायित्व भए पनि कोषले अहिलेसम्म कुनै प्रभावकारी काम गर्न सकेको देखिँदैन । 

कोषको अर्को काम भनेको संरक्षित क्षेत्रको सञ्चालन र निकुञ्ज सञ्चालनमा सरकारलाई सहयोग गर्नु हो । नेपालका संरक्षण क्षेत्र, आरक्ष र राष्ट्रिय निकुञ्जको लोकतान्त्रिकरणको मुद्धा अहिलेसम्म अघि बढ्न सकेको छैन । यसका लागि उचित नीतिगत सुझाव दिने र कार्यान्वयनमा सहयोग गर्नुपर्ने दायित्व भए पनि कोषले अहिलेसम्म कुनै कदम चालेको छैन । 

गैडाको खागदेखि सालकसम्म चोरीशिकारी हुने नेपालको पुरानै समस्या हो । यसलाई नियन्त्रण गर्न समुदाय स्तरमा कार्यक्रम चलाउने जिम्मेवारी पनि कोषले लिएको छ । यसलाई अझ प्रभावकारी बनाउनु पर्ने दायित्व कोषको छ ।

प्रभावकारी काम गर्नुपर्ने दायित्व भएको कोषले आफ्नो नेतृत्व प्रधानमन्त्रीले बक्सिसमा पद दिएको पात्र होइन,  विषयको गहिरो ज्ञान भएको क्षमतावान नेतृत्व पर्खिरहेको थियो । चौतर्फी रुपमा सुशासनको नारा गुञ्जिएको समयमा त कोषले पक्कै पनि योग्य नेतृत्व पाउँछ भन्ने धेरैको अपेक्षा थियो । तर, सरकारले यो अपेक्षालाई तिरस्कार गरेको छ । 

विद्रोहको जगमा बनेको कार्की सरकारलाई प्राप्त भएको म्यान्डेट आफ्नो कार्यकालमा सुशासन कायम गर्नु मात्रै नभएर आगामी सरकारका लागि समेत सुशासनको रोडम्याप दिनु समेत थियो । तर, प्रधानमन्त्रीले आफ्नै स्वकीय सचिवलाई उनको अनुभव र योग्यतासँग दुरको पनि सम्बन्ध नभएको नियुक्ति थमाउँदै बिदा हुने तरखर गरेकी छन् । यसले सुशासनप्रति कार्की सरकारको इमान्दारितामा प्रश्न उठाएको छ । 

प्रधानमन्त्रीका स्वकिय श्रेष्ठ यसअघि पनि विवादमा तानिएका थिए । आफ्नै श्रीमतिलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाउन खोजेपछि जेनजी आन्दोलनकारीहरूले चर्को विरोध गरेका थिए । यसपछि प्रधानमन्त्री कार्यालयमा काम गरिरहेका जेनजी अभियन्ताहरूलाई समेत निकाल्दै श्रेष्ठले रिस फेरेका थिए, जसलाई प्रधानमन्त्री कार्कीले साथ दिएका थिए । 

के प्रधानमन्त्री कार्कीले आफ्ना स्वकिय सचिव आदर्शलाई बक्सिस दिन आफ्नै आदर्श त्याग गरेकी हुन् ? उनले जवाफ दिनु पर्छ । र, सुशासनका लागि आन्दोलनमा उत्रिएका जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई सबै राम्रा कामका लागि धन्यवाद दिँदै यसमा जवाफ नपाएसम्म प्रश्न मात्रै गरेर पुग्दैन, गलत नजिर बसाउने यो निर्णय सच्याउन लगाउनु पर्छ । 

यी हुन् समानुपातिकबाट निर्वाचित ६ पार्टीका ११० सांसद (नामावली सहित)

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभामा निर्वाचित हुने सांसदहरूको सूची सार्वजनिक गरेको छ । दलहरूबाट सिफारिस भई आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभाका कुल २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिक प्रणालीबाट भर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार आयोगले समानुपातिकतर्फका ११० जना सांसदको नाम सार्वजनिक गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको नवीनतम मोडेल उत्कृष्टः गृहमन्त्री अर्याल

काठमाडौ‌ं। गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिक सेवाका लागि अवलम्बन गरेको नवीनतम मोडेल उत्कृष्ट रहेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीका साथमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँको सेवा प्रवाहस्थितिबारे स्थलगत निरीक्षण तथा अनुगमनपछि मन्त्री अर्यालले यस प्रणाली देशभरका सरकारी कार्यालयका लागि नमूना भएको बताउँदै नागरिकले पाउने सरकारी सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन यो उपयोगी र सान्दर्भिक भएको उल्लेख गरे ।

“देशैभरि यस्तै प्रणाली हुनुपर्छ, आउने सरकारलाई यो मानक हुन्छ”, गृहमन्त्री अर्यालले भने, “७७ वटै जिल्ला र अन्य सेवा प्रवाह हुने ठाउँमा पनि यो मोडेल विस्तार गरिनुपर्छ । सरसफाईदेखि सेवा प्रवाह छिटो र छरितो देखिन्छ । यसले नागरिक सेवालाई सरल र छिटो बनाउन मद्दत पुग्नेछ । यो मोडेलमा सङ्घ, प्रदेश र स्थानीय तहको बलियो समन्वय र सहकार्य जरुरी छ ।”

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई प्रभावकारी एवं जनमैत्री बनाउन सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमबीच उक्त प्रणाली औपचारिक रूपमा सुरु गरिएको हो ।

अनुगमनका क्रममा गृहमन्त्री अर्यालले सेवाग्राहीका गुनासाहरू प्रत्यक्ष रूपमा सुन्नुका साथै त्यहाँ कार्यरत कर्मचारीहरूलाई छिटोछरितो र झन्झटरहित रूपमा सेवा प्रवाह गर्न निर्देशन दिए ।

प्रशासनको कामकारबाहीलाई थप पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै उनले सेवाग्राहीलाई दुःख दिने विचौलियाहरूको अन्त्य गर्न मन्त्रालयले शून्य सहनशीलताको नीति अपनाएको स्पष्ट पारे ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले नयाँ प्रणालीले सेवाग्राहीलाई सहज तथा प्रभावकारी सेवा पाउन सकुन् भन्ने उद्देश्यले उक्त प्रणाली सञ्चालनमा ल्याइएको बताए ।

उनका अनुसार जेनजी आन्दोलनमा उठेको आवाजलाई समेत सम्बोधन गर्नेगरी सुशासन, समग्र सेवा प्रवाहका लागि जनमैत्री सेवा, जवाफदेहिता, पारदर्शिताका एउटा नवीनतम मोडेलको रूपमा पब्लिक एनाउन्समेन्ट सिस्टम ‘सार्वजनिक सम्बोधन प्रणाली’को विकास गरिएको हो ।

परम्परागत सरकारी कार्यालयको संरचनामा कर्मचारी भित्र र सेवाग्राही बाहिर बस्ने व्यवस्था रहेकोले नयाँ मोडेलमार्फत भने कर्मचारी र सेवाग्राहीबीचको दूरी घटाएर एउटै स्थानमा बसेर सेवा प्रदान गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।