`

बागमतीका मुख्यमन्त्री बानियाँ पक्राउ,खास के हो कुरो ?

काठमाडौं। सम्पत्ति शुद्धीकरण विभाग को टोलीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ को घर तथा निर्माण कम्पनीका कार्यालयमा सोमबार छापा मारेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै विभागको टोलीले बानियाँको निवास र उनकै स्वामित्वमा रहेको निर्माण कम्पनीको कार्यालयमा छापा मारेको जनाएको छ।

छापा मार्न विभागको टोली काठमाडौंबाट हेटौँडा पुगेको थियो। स्रोतका अनुसार टोली मध्याह्न करिब १२ बजे बानियाँको हेटौँडास्थित निवासमा पुगेको र करिब दुई घण्टापछि, २ बजे आसपास बाहिरिएको थियो।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार हेटौँडा-५, पिप्लेस्थित बानियाँ निर्माण सेवा (बीएनएस) कम्पनीको कार्यालयमा पनि छापा मारिएको छ। सो क्रममा आवश्यक कागजातहरू अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ।

यस्तै मुख्यमन्त्री बानियाँको घरमा विभागका करिब ७ सदस्यीय टोलीले खोजतलास गरेको जनाइएको छ। यद्यपि, नियन्त्रणमा लिइएका कागजातको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

बानियाँ निकट स्रोतका अनुसार उनी संसदीय दलको बैठकमा सहभागी रहेका बेला छापा मारिएको जानकारी पाएका थिए। उक्त बैठकमा सभामुख चयन र मन्त्रिपरिषद् फेरबदल सम्बन्धी विषयमा छलफल भइरहेको बताइएको छ।

यस विषयमा  बानियाँले कुनै प्रतिक्रिया दिएका छैनन्।

जेलबाटै दक्षिण एसिया थरथर बनाउने, को हुन् लरेन्स बिश्नोई ?

काठमाडौं। लरेन्स बिश्नोई दक्षिण एसियाको आपराधिक दुनियाँमा चर्चित र विवादास्पद नाममध्ये एक हो। उनको नाम संगठित अपराध, जबरजस्ती असुली, हत्या प्रयास, र अन्तर्राष्ट्रिय गिरोह नेटवर्कसँग जोडिँदै आएको छ। भारतका सुरक्षा निकायहरूले उनलाई एक खतरनाक आपराधिक गिरोहको प्रमुख योजनाकार का रूपमा चित्रण गर्दै विभिन्न गम्भीर मुद्दाहरू दायर गरेका छन्।

बिश्नोईको जन्म सन् १९९३ मा भारतको पञ्जाब राज्यको फिरोजपुर जिल्लामा भएको हो। उनी मध्यमवर्गीय परिवारबाट आएका हुन्।

उनका बुबा पहिले प्रहरी सेवामा थिए तर पछि कृषि पेशामा संलग्न भए। बिश्नोई बाल्यकालमा पढाइमा औसत विद्यार्थी मानिन्थे। पछि विद्यार्थी राजनीतिमा उनको रुचि बढ्दै गयो।

उच्च शिक्षाका लागि उनले पञ्जाब विश्वविद्यालयमा अध्ययन गरे। विश्वविद्यालय जीवनले उनको सामाजिक सम्बन्ध, सोच र गतिविधिमा ठूलो प्रभाव पारेको मानिन्छ। यसै क्रममा उनी विभिन्न विद्यार्थी संगठनहरूमा सक्रिय भए र नेतृत्व भूमिकामा देखा पर्न थाले।

विद्यार्थी राजनीतिमा सक्रिय रहँदा बिश्नोई विभिन्न समूहगत विवाद र हिंसात्मक घटनामा संलग्न भएको आरोप लाग्यो। सुरुमा राजनीतिक प्रतिस्पर्धाबाट सुरु भएको गतिविधि क्रमशः संगठित आपराधिक गतिविधितर्फ मोडिएको बताइन्छ।

अनुसन्धान निकायका अनुसार, उनी पछि केवल सदस्य नभई योजनाकार को भूमिकामा देखिन थाले।

बिश्नोई गिरोह भारतका पञ्जाब, हरियाणा, राजस्थान, दिल्ली लगायत उत्तर भारतका क्षेत्रमा सक्रिय रहेको बताइन्छ। यो गिरोहको गतिविधि मुख्य रूपमा जबरजस्ती असुली, धम्की, हतियार प्रयोग गरी डर फैलाउने र योजनाबद्ध अपराध सञ्चालन गर्ने गरेको आरोप छ।

गिरोहका केही सदस्यहरू विदेशमा समेत सक्रिय रहेको दाबी गरिन्छ। जसले यसलाई अन्तर्राष्ट्रिय नेटवर्कको स्वरूप दिएको छ।

सन् २०१८ मा बिश्नोईले बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिएको घटना व्यापक चर्चामा आयो। मिडिया रिपोर्ट अनुसार, उनका सहयोगीहरूले सलमान खानको घर बाहिर गोलीसमेत चलाएका थिए।

यो विवाद १९९८ को काला हिरण शिकार मुद्दासँग जोडिएको मानिन्छ। जसलाई बिश्नोई समुदायले संवेदनशील विषयका रूपमा लिन्छ।

एनसीपी नेता बाबा सिद्दिकीको हत्या पछि पनि सामाजिक सञ्जालमा बिश्नोई गिरोहको नाम जोडेर चर्चा भयो। यद्यपि यस विषयमा आधिकारिक अनुसन्धान अझै जारी नै छ।

बिश्नोई पहिलो पटक सन् २०१४ मा पक्राउ परेका थिए। त्यसपछि उनी बारम्बार विभिन्न मुद्दामा जेल परे। उनले अधिकांश समय पञ्जाब, दिल्ली, राजस्थान, तिहाड र साबरमती जस्ता उच्च सुरक्षा जेलहरूमा बिताएका छन्।

प्रहरीका अनुसार, उनी जेलमै बसेर पनि आफ्नो गिरोह सञ्चालन गर्न सक्षम रहेको आरोप छ।  जसका लागि फोन र बाह्य सम्पर्क प्रयोग गरिएको दाबी गरिन्छ।

सन् २०२२ मा गुजरात एटीएसले ठूलो मात्रामा हेरोइन बरामद गरेपछि बिश्नोईको नाम ड्रग्स तस्करी नेटवर्कसँग पनि जोडियो। अनुसन्धान निकायका अनुसार केही योजना जेलभित्रैबाट बनेको र बाहिरका सहयोगीमार्फत कार्यान्वयन गरिएको दाबी गरिएको छ। तर यी आरोपहरू अदालतमा पूर्ण रूपमा प्रमाणित भइसकेका छैनन्।

बिश्नोईमाथि पञ्जाब, दिल्ली र राजस्थानमा ३० भन्दा बढी आपराधिक मुद्दा दर्ता छन्, जसमा हत्या, धम्की, असुली र संगठित अपराध सम्बन्धी आरोप समावेश छन्। तीमध्ये करिब १९ भन्दा बढी मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छन्।

बिश्नोई अहिले भारतको गुजरात राज्यस्थित साबरमती सेन्ट्रल जेलमा बन्द छन्।

बालेनको राजीनामा माग्दै पोखराका सुकुमवासी सडकमा(तस्वीरहरु)

काठमाडौं । पोखरामा सुकुमवासीहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग्दै प्रदर्शन गरेका छन्।

आन्दोलनमा सहभागी सुकुमवासीहरूले ‘डोजर आतंक बन्द गर’ भन्ने नारा लगाउँदै सडकमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले बस्ती हटाउने कार्यलाई अमानवीय भन्दै तत्काल रोक्न माग गरेका छन्।

प्रदर्शनकारीहरूले सरकार तथा सम्बन्धित निकायले वैकल्पिक व्यवस्था बिना बस्ती भत्काउने कार्य गरिरहेको आरोप लगाउँदै त्यसको विरोध गरेका छन्। साथै, सुकुम्वासी समस्या समाधानका नाममा भइरहेको कारबाही पुनर्विचार गर्न पनि उनीहरूले आग्रह गरेका छन्।

बागमतीका मुख्यमन्त्री बानियाँ पक्राउ पर्दै

काठमाडौं। सम्पत्ति शुद्धीकरण विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध अनुसन्धानलाई तीव्र बनाउँदै पक्राउ गरेरै छानबिन गर्ने विषयमा कानुनी परामर्श गरिरहेको जनाएको छ।

विभाग स्रोतका अनुसार बानियाँको घर तथा कार्यालयमा छापा मारेर महत्त्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएपछि अब थप अनुसन्धानको प्रकृतिबारे छलफल भइरहेको छ। ‘कागजपत्र नियन्त्रणमा लिएका छौं, आवश्यक परे पक्राउ गरेरै अनुसन्धान गर्नुपर्ने हुन सक्छ,’ स्रोतले जनाएको छ।

बानियाँ यसअघि ‘ए’ वर्गका ठेकेदारसमेत रहेको पृष्ठभूमिमा अवैध सम्पत्ति आर्जन तथा सम्पत्ति लुकाएको आशंकामा विभागले अनुसन्धान अघि बढाएको हो। सोही क्रममा हेटौँडाको सानोपोखरास्थित बानियाँ निर्माण सेवा (बीएनएस) कार्यालय र निवासमा छापा मारिएको छ।

त्यस्तै काठमाडौंको नक्साल र सुन्धारास्थित स्थानहरूमा समेत विभागले छानबिन गरेको जनाएको छ। छापामार कारबाहीका क्रममा विभिन्न कागजात र आर्थिक विवरणहरू संकलन गरिएको बताइएको छ।

नेपाली कांग्रेस का बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायमा सक्रिय थिए। हाल पनि विभिन्न व्यावसायिक कम्पनीहरूमा उनको लगानी रहेको विभागको प्रारम्भिक निष्कर्ष छ।

विभागले संकलित प्रमाणका आधारमा थप अनुसन्धान अघि बढाइने र आवश्यक परे कानुनी प्रक्रिया अनुसार कारबाही गरिने जनाएको छ।

१५ वर्षदेखि फरार अभियुक्तसहित चार जना पक्राउ

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहट ले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका चार जनालाई पक्राउ गरेको छ।

आइतबार खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान, सवारी ज्यान, बैंकिङ कसुर तथा लागूऔषध (गाँजा) सम्बन्धी मुद्दाका प्रतिवादीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा करिब १५ वर्षदेखि फरार रहेका देवाही गोनाही नगरपालिका–३ का ३९ वर्षीय राम विनय चौधरी पक्राउ परेका छन्। उनीमाथि २०६६ फागुन २६ गते एक व्यक्तिलाई कुटपिट गरी घाइते बनाएको र उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न रहेको आरोप छ।

त्यस्तै सवारी ज्यान मुद्दामा बौधीमाई नगरपालिका–६ का ३६ वर्षीय राम पुकार राय यादव पक्राउ परेका छन्। उनले चलाएको मोटरसाइकलको ठक्करबाट २०८१ पुस २ गते मौलापुर नगरपालिका–५ मा ६५ वर्षीय बनारसी राउत कुर्मीको मृत्यु भएको थियो।

बैंकिङ कसुर मुद्दामा माधवनारायण नगरपालिका–६ का ४१ वर्षीय जितेन्द्र कुमार जयसवाल पक्राउ परेका छन्। उनीविरुद्ध सर्लाही जिल्ला अदालत बाट पक्राउ पुर्जी जारी भएको थियो। उनलाई आवश्यक कारबाहीका लागि सर्लाही पठाइएको प्रहरीले जनाएको छ।

यस्तै लागूऔषध (गाँजा) मुद्दामा ६ महिना कैद सजाय सुनाइएका देवाही गोनाही नगरपालिका–९ का ६५ वर्षीय सिकेन्द्र राय यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार कर्तव्य ज्यान र सवारी ज्यान मुद्दाका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको छ भने अन्य प्रतिवादीलाई सम्बन्धित निकायमा पठाइएको छ।

विश्वकप लिग-२ : भोली ओमानसँग भिड्दै नेपाल

काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो घरेलु मैदानमा ओमानविरुद्ध महत्वपूर्ण खेल खेल्न लागेको हो।

शनिबारदेखि सुरु भएको सिरिजमा नेपालले युएईलाई लगातार दुई खेलमा पराजित गरेको थियो भने ओमानसँग भने हार बेहोरेको थियो।

लिग-२ मा हरेक खेलमा जित निकाल्नु नेपालका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ। आठ टोली सहभागी यो प्रतियोगितामा नेपाल हाल सातौँ स्थानमा रहेको छ।

नेपाल युएईभन्दा मात्र एक अंकले माथि रहेको अवस्थामा अंकतालिकामा सुधार गर्न यो खेल निर्णायक हुन सक्ने देखिन्छ।

कपिल शर्माको क्याफे बाहिर गोलीबारी,लरेन्स बिश्नोई ग्याङको हात ?

एजेन्सी। भारतका प्रसिद्ध कमेडियन कपिल शर्मा फेरि एक पटक चर्चामा आएका छन्। क्यानडाको सरेमा रहेको उनको ‘क्याप्स क्याफे’ नजिकै एउटा रेस्टुरेन्टमा गोलीबारीको घटना भएको छ, जसले उक्त क्षेत्रमा हल्लाखल्ला मच्चाएको छ।

सोशल मिडियामा भाइरल भइरहेका दाबीअनुसार, यस आक्रमणको पछाडि लरेन्स बिश्नोई ग्याङको हात रहेको बताइएको छ। केही पोस्टहरूमा कपिल शर्मालाई सीधै ज्यान मार्ने धम्की पनि दिइएको दाबी गरिएको छ। यद्यपि यी दाबीहरूको आधिकारिक पुष्टि अहिलेसम्म भएको छैन।

सोशल मिडियामा ‘टाइसन बिश्नोई जोरा सिद्धू’ नामको फेसबुक अकाउन्टबाट गरिएको पोस्ट तीव्र रूपमा भाइरल भइरहेको छ। उक्त पोस्टमा सरेस्थित चाइ सट्टा बारमा गोलीबारी भएको दाबी गरिएको छ। जुन कप्स क्याफे नजिकै पर्छ।

पोस्टमा कपिल शर्मा र क्याफे मालिकलाई चेतावनी दिँदै भनिएको छ कि उनीहरूले ‘समय खेर नफालून्’ र तिनका सर्तहरू स्वीकार गरून्। साथै यदि त्यसो नगरे क्याफे र मुम्बईस्थित उनको घरलाई पनि निशाना बनाइने संकेत गरिएको छ।

२०२५ देखि आक्रमणको सिलसिला जारी

यो पहिलो पटक होइन जब कपिल शर्माको क्याफेलाई निशाना बनाइएको हो। सन् २०२५ देखि यस्ता घटनाहरूको सिलसिला जारी रहेको छ।

  • १० जुलाई २०२५: क्याफे उद्घाटनको केही दिनपछि पहिलो पटक गोलीबारी
    ७ अगस्ट २०२५: एक महिनाभित्र दोस्रो आक्रमण
    १५–१६ अक्टोबर २०२५: तेस्रो पटक क्याफेमा गोलीबारी

तेस्रो आक्रमणपछि बिश्नोई नेटवर्कसँग जोडिएका व्यक्तिहरूले सामाजिक सञ्जालमा यसको जिम्मेवारी लिएको बताइएको छ।

सलमान खानसँग सम्बन्ध कारण?

ग्याङसँग सम्बन्धित दाबीअनुसार, कपिल शर्मालाई निशाना बनाउनुको कारण उनको सलमान खानसँगको सम्बन्ध हो भनिएको छ।

बताइन्छ कि ‘द ग्रेट इन्डियन कपिल शो’ को सुरुवातमा सलमान खानलाई बोलाएपछि यो असन्तुष्टि बढेको हो। ग्याङसँग जोडिएका एक सदस्यले पहिले पनि चेतावनी दिएका थिए । सलमान खानसँग काम गर्ने जो कोहीले परिणाम भोग्नुपर्नेछ।

बिश्नोई ग्याङ र सलमानबीचको विवाद सन् १९९८ को कालो हरिण शिकार मुद्दासँग जोडिएको छ। बिश्नोई समुदायले कालो हरिणलाई पवित्र मान्ने भएकाले यो विवाद लामो समयदेखि जारी छ।

यसै कारण ग्याङले सलमान खान र उनका नजिकका मानिसहरूलाई लगातार धम्की दिँदै आएको बताइन्छ।

आफ्नो फिल्म ‘किस किसको प्यार करूँ २’ को ट्रेलर लन्चको क्रममा कपिल शर्माले यी घटनाबारे चिन्ता व्यक्त गरेका थिए। उनले भनेका थिए कि उनलाई लाग्छ क्यानडाको कानून र प्रहरीले यस्ता घटनाहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्न सक्षम छैनन्।

यी आक्रमणपछि मुम्बई प्रहरीले सुरक्षाका कारण भारतमा उनको सुरक्षा व्यवस्था पनि बढाएको थियो।

३४ अंकले ओरालो लाग्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ३४.६३ अंकले घटेको छ। यससँगै नेप्से २७०४ अंकमा कायम भएको छ।

कारोबार सुरु भएको पहिलो १० मिनेटसम्म बजारले सामान्य वृद्धिको संकेत देखाए पनि त्यसपछि अन्त्यसम्म लगातार ओरालो लागेको थियो।

आजको गिरावटसँगै सेयर बजार लगातार चौथो कारोबार दिन घटेको हो। यसअघि मंगलबार २६ अंक, बुधबार २५ अंक र बिहीबार ५ अंकले बजार घटेको थियो भने शुक्रबार सार्वजनिक बिदाका कारण कारोबार भएको थिएन।

आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ४ अर्ब २६ करोडमा सीमित भयो। कुल २७ कम्पनीको मूल्य बढ्दा २४० कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो।

माइक्रोफाइनान्स बाहेक सबै समूहका सूचक घटेका छन्। माइक्रोफाइनान्स समूह भने करिब १ अंकमुनि हरियो रह्यो। जलविद्युत्, विकास बैंक र उत्पादन तथा प्रशोधन समूह २ प्रतिशतभन्दा बढीले घटे।

अन्य समूहहरूमा बैंकिङ ०.८६, विकास बैंक २.१४, फाइनान्स ०.९६, होटल तथा पर्यटन १.३५, जलविद्युत् २.२३, लगानी १.३६, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन २.५४, निर्जीवन बीमा ०.९३, अन्य ०.५० तथा व्यापार १.३८ प्रतिशतले घटेका छन्।

आजको कारोबारमा फर्वार्ड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। त्यसैगरी झापा इनर्जीको मूल्य ७.९९ प्रतिशतले बढेको छ। मूल्य वृद्धिमा ऋणपत्र अगाडि देखिएका छन्।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १२.५८ प्रतिशतले घटेको छ। माइखोला हाइड्रोपावर ८.५९, नारायणी डेभलपमेन्ट बैंक ८.५६ तथा साल्पा विकास बैंक ८.०१ प्रतिशतले घटेका छन्।

आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र एनआईसी एसिया बैंक रहेका छन्।

‘केटाकेटी सरकार’ भन्दै बालेन सरकारलाई गिज्याए हर्क साम्पाङले

काठमाडौं । ‘केटाकेटी सरकार’ भन्दै बालेन सरकारलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गिज्याएका छन् ।

बालेन सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलसमक्ष पुनः पठाएको विषयलाई लिएर तीव्र असन्तुष्टि जनाएका साम्पाङले अपरिपक्‍व राजनीतिक सस्कार देखाएको भन्दै बालेन सरकारलाई ‘केटाकेटी सरकार’ भनेका हुन् ।

अध्यादेश फिर्ता पठाउने राष्ट्रपतिको कदमको समर्थनमा रहेका उनले एकपटक अस्वीकार गरेपछि फेरि स्वीकार्ने भन्ने नहुने बताए ।

उनले लेखेका छन्, ‘केटाकेटी सरकार… अध्यादेश फेरि पठाएछ। यसपाली चाहिँ ललिपपसहित पठाएको हो र ? एक चोटि हुँदैन भनेपछि हुँदैन नि! ।’

साम्पाङले अध्यादेश पुनः पठाउने बालेन सरकारको निर्णयप्रति असहमति जनाएका हुन् । राजनीतिक वृत्तमा पनि राष्ट्रपतिबाट फिर्ता भएको अध्यादेश पुनः सोही रूपमा पठाइनु उपयुक्त हो वा होइन भन्ने बहस चलिरहेको छ।

 

सोबितालाई अघि राखेर सुहाङको प्रश्न- अध्यादेश किन ? (भिडियो)

काठमाडौं । नेकपा (एमाले) का युवा सांसद सुहाङ नेम्वाङले सरकारको कार्यशैलीप्रति कडा असन्तोष व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै नेम्वाङले स्पष्ट बहुमत भएको सरकारले संसद्लाई बाइपास गर्दै अध्यादेश ल्याउनु लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादाविपरीत भएको टिप्पणी गरे।

उनी भन्छन्, संसद् जनप्रतिनिधिको सर्वोच्च मञ्च हो र समितिहरू ‘मिनी पार्लियामेन्ट’ जस्तै हुन्, त्यसैले सरकारले पूर्ण रूपमा संसद्प्रति जवाफदेही हुनुपर्छ।

नेम्वाङले प्रश्न उठाए, ‘संसद्मा स्पष्ट बहुमत छ, सभामुख र समितिका सभापति समेत सत्ता पक्षकै छन्, त्यसो हुँदा पनि कानुन बनाउन ढिलाइ किन भयो? शासन संचालनको सहजताका नाममा अध्यादेशलाई नियमित विकल्प बनाउनु सरकार स्वेच्छाचारितातर्फ उन्मुख हुनु हो।’

अघिल्ला गल्तीलाई नजिर बनाएर आज पनि अध्यादेशको बाटो रोज्नु गलत भएको भन्दै उनले सरकारको शैलीमाथि गम्भीर प्रश्न उठाए।

यस्तै, काठमाडौं उपत्यका तथा देशका विभिन्न स्थानमा सुकुमबासी बस्ती हटाउने क्रममा सरकारले अमानवीय व्यवहार देखाएको दाबी गर्दै उनले चिन्ता व्यक्त गरे। सर्वोच्च अदालतले वैकल्पिक व्यवस्था बिना विस्थापन नगर्न भनेको आदेश सम्झाउँदै उनले भने, ‘नागरिकमाथि डोजर चल्दा, आमा बेहोस हुँदा, बालबालिका रुँदा राज्य अभिभावक बन्नुपर्छ। जसको कोही छैन, राज्य त्यही नागरिकको आधार हुनुपर्छ।’

हुकुमबासी र वास्तविक सुकुमबासी छुट्याउन नसकिँदा अन्याय अत्याचारमा बदलिन सक्ने उल्लेख गर्दै उनले नागरिकको आत्मसम्मानमाथि प्रहार भएपछि मनमा कहिल्यै निको नहुने घाउ बस्ने चेतावनी दिए।

२०४७ सालदेखि १९ वटा भूमि आयोग गठन भएर पनि समस्या समाधान हुन नसकेकाले अब स्थायी र दीर्घकालीन समाधान आवश्यक भएको उनको भनाइ छ।

इलामको उदाहरण दिँदै उनले भने, ‘मेरो जिल्लामा ७५ प्रतिशतभन्दा बढीका नाममा धनीपुर्जा छैन। के ती सबैलाई उठिबास गराउनु नै समाधान हो?’

सांसद नेम्वाङले सुकुमबासी समस्या समाधानका क्रममा नागरिकको सम्मान जोगाउँदै, संविधानको मर्यादा कायम राख्दै र मानवीय ढंगले वैकल्पिक व्यवस्थासहित अघि बढ्न सरकारलाई आग्रह गरे।

घरबारविहीन बनाएर होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरूको वास्तविक अवस्था बुझ्न समितिका सदस्यहरूले स्थलगत अनुगमन गर्नुपर्ने आवश्यकता उनले औंल्याए।

इन्टर मिलानले जित्यो २१ औँ पटक सिरी-एको उपाधि

एजेन्सी। इटालियन सिरी ‘ए’ प्रतियोगिता अन्तर्गत पार्मालाई २-० ले पराजित गर्दै इन्टरले सिजनको अन्त्य हुन तीन खेल बाँकी रहँदै नै उपाधि सुनिश्चित गरेको छ।

मार्कुस थुरामले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए भने हेनरिख मिखितारियनले खेल सकिन १० मिनेट बाँकी रहँदा अर्को गोल गर्दै जित सुनिश्चित गरे। यस जितसँगै इन्टरले ८२ अंकसहित आफ्नो २१औँ सिरी ‘ए’ उपाधि (स्कुडेटो) जितेको हो।

दोस्रो स्थानमा रहेको नापोलीले शनिबार कोमोविरुद्ध ०-० को बराबरी खेलेपछि इन्टरलाई एक अंक मात्र पर्याप्त हुने अवस्था बनेको थियो। तर इन्टरले जित निकाल्दै १२ अंकको अपराजेय अग्रता बनाउँदै उपाधि पक्का गर्‍यो।

खेलमा स्पष्ट गोल अवसर सीमित भए पनि इन्टरले पहिलो हाफभर खेल नियन्त्रणमा राखेको थियो र पार्माको क्षेत्रमा दबाब कायम राखेको थियो।

दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरताले अर्थतन्त्र प्रभावित : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा अपेक्षित सुधार नदेखिनुको मुख्य कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता भएको बताएका छन्।

महासंघको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्ला वर्षहरूमा सरकार र गठबन्धन बारम्बार परिवर्तन हुँदा नीतिगत निरन्तरता कमजोर बनेको उल्लेख गरे। उनका अनुसार, ‘सरकार फेरिँदा नीति र प्राथमिकता पनि फेरिन्छन्, जसले राम्रा कार्यक्रमसमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन पाउँदैनन्।’

श्रेष्ठले अहिलेको अवस्थालाई अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउँदै स्थिर सरकार भए नीतिगत स्थायित्व आउने विश्वास व्यक्त गरे। निजी क्षेत्रले अर्थतन्त्रको ठूलो हिस्सा धानेको उल्लेख गर्दै उनले सरकारसँग सहकार्यको वातावरण आवश्यक रहेकोमा जोड दिए।

उनले आगामी तीन वर्षका लागि पाँच प्राथमिकता सार्वजनिक गर्दै निजी क्षेत्र र सरकारबीचको सम्बन्ध पुनःपरिभाषित गर्ने प्रतिबद्धता जनाए। नीति निर्माण, बजेट, कानुन तथा अन्तर्राष्ट्रिय वार्तामा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने उनको भनाइ छ।

निजी क्षेत्रप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न अभियान सञ्चालन गरिने, लगानी सुरक्षा सुनिश्चित गरिने तथा व्यावसायिक विवाद समाधान प्रणाली सुधार गरिने उनले बताए। साथै, स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका लागि सरकारसँग नियमित संवाद गरिने पनि उनले उल्लेख गरे।

श्रेष्ठले महासंघलाई स्थानीय तहसम्म प्रभावकारी बनाउने योजना पनि सार्वजनिक गरे। आर्थिक सुधार, सुशासन, प्रतिस्पर्धात्मकता, श्रम–सीप विकास र संस्थागत सुदृढीकरणमा केन्द्रित कार्ययोजना अघि सारिएको उनले जानकारी दिए।

उनले सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको भन्दै आर्थिक रूपान्तरण संयुक्त प्रयासबाट मात्र सम्भव हुने धारणा व्यक्त गरे।

गुगलले भारतमा ‘एआई हब’ बनाउन किन खन्यायो पैसा ?

एजेन्सी। विशाखापट्टनम (भारत) । भारतलाई विश्वकै प्रमुख प्रविधि केन्द्र बनाउने लक्ष्यसहित अमेरिकी टेक कम्पनी गुगलले आन्ध्र प्रदेशको विशाखापट्टनममा आफ्नो सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हब निर्माण कार्य सुरु गरेको छ।

यो परियोजना संयुक्त राज्य अमेरिका बाहिरको गुगलको सबैभन्दा ठूलो एआई पूर्वाधार आयोजना मानिएको छ। करिब १५ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक लगानी भित्र्याउने यस परियोजनाले भारतको डिजिटल अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

विशेष समारोहबीच सुरु गरिएको यो डाटा सेन्टर हबले आन्ध्र प्रदेशलाई विश्वव्यापी एआई इकोसिस्टमको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ। परियोजना एडानी कनेक्ट्स र एयरटेलजस्ता भारतीय ठूला कम्पनीहरूको साझेदारीमा विकास भइरहेको छ।

गिगावाट-स्तरको कम्प्युटिङ क्षमता रहने यो हबले ठूला एआई मोडेलहरूको प्रशिक्षण तथा व्यावसायिक प्रयोगका लागि आवश्यक उच्च-प्रदर्शन कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउनेछ। यसले भारतमा एआई प्रविधिको विकास र प्रयोगलाई तीव्र बनाउने अपेक्षा गरिएको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार यो परियोजनाले स्थानीय स्तरमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने मात्र नभई क्षेत्रीय आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

गुगलले यो केन्द्रलाई वातावरणमैत्री बनाउन नवीकरणीय ऊर्जा र ऊर्जा भण्डारण प्रणालीमा आधारित ‘ग्रिन डाटा सेन्टर’ अवधारणा अपनाएको छ। यसले ऊर्जा खपत घटाउने र दिगो प्रविधि विकासलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

विश्वभर एआई प्रविधिको प्रतिस्पर्धा तीव्र भइरहेका बेला गुगलको यो ठूलो लगानीले भारतलाई विश्व प्रविधि क्षेत्रको नयाँ ‘पावरहाउस’ बनाउन सहयोग पुग्ने विश्लेषकहरूको धारणा छ।

विवादित व्यावसायी भट्टलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

भट्टकी पत्नी आयुस्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले उक्त आदेश जारी गरेको हो।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउने आदेशसँगै भट्टलाई अदालतमा प्रस्तुत गराउन निर्देशन दिएको छ।

भट्टलाई चैत १९ गते सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ।

अवैध सम्पत्ति लुकाएको आशंकामा विभागले सोमबार यो कारबाही गरेको हो।

हेटौंडाको सानोपोखरास्थित बानियाँ निर्माण सेवा (बीएनएस) र त्यही क्षेत्रमा रहेको उनको निवासमा छापा मारेर विभागले विभिन्न कागजातहरू बुझेर लगेको स्रोतले जनाएको छ।

यस्तै, काठमाडौंको नक्साल र सुन्धारामा समेत विभागले छापा मारेको बताइएको छ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायसँग सक्रिय रूपमा आबद्ध थिए।

हाल पनि उनी विभिन्न व्यावसायिक कम्पनीहरूमा लगानीकर्ता रहेको स्रोतहरूको दाबी छ।

नेपालमा के छ गर्भपतन कानून ?

काठमाडौं। नेपालमा गर्भपतनसम्बन्धी कानूनी व्यवस्था पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा परिवर्तन हुँदै अत्यन्तै प्रगतिशील दिशातर्फ अघि बढेको छ। कुनै समय मुलुकी ऐनअन्तर्गत गर्भपतनलाई ‘फौजदारी अपराध’का रूपमा हेरिन्थ्यो। यसका लागि महिलाले कानुनी कारबाही तथा जेल सजायसम्म भोग्नुपर्ने अवस्था थियो। तर समयसँगै सामाजिक सोच, मानवअधिकारको अवधारणा र स्वास्थ्य नीतिमा आएको परिवर्तनले गर्भपतनलाई अपराध नभई, महिलाको मौलिक प्रजनन स्वास्थ्य अधिकारका रूपमा स्थापित गरेको छ।

नेपालको संविधानले महिलाको प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरेको छ। त्यसैअनुसार ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ ले गर्भपतनलाई महिलाको शरीर, स्वास्थ्य र भविष्यसँग सम्बन्धित व्यक्तिगत निर्णयका रूपमा परिभाषित गरेको छ।

उक्त ऐनले महिलालाई आफ्नो स्वास्थ्य अवस्थाअनुसार निश्चित सर्तहरू पूरा गरी सुरक्षित गर्भपतन सेवा लिन सक्ने कानुनी अधिकार प्रदान गरेको छ। यसले राज्यलाई सेवा उपलब्ध गराउने, पहुँच सुनिश्चित गर्ने र सुरक्षित वातावरण निर्माण गर्ने दायित्व पनि स्पष्ट रूपमा तोकेको छ।

कानुनी व्यवस्थाअनुसार सामान्य अवस्थामा महिलाको इच्छामा १२ हप्तासम्मको गर्भपतन गराउन पाइन्छ। त्यस्तै विशेष परिस्थितिमा २८ हप्तासम्मको गर्भपतन अनुमति दिइएको छ। यसमा बलात्कार वा हाडनाता करणीबाट भएको गर्भ, गर्भवती महिलाको ज्यान वा शारीरिक-मानसिक स्वास्थ्यमा गम्भीर जोखिम हुने अवस्था,भ्रूणमा गम्भीर जन्मजात समस्या देखिएको अवस्था, वा एचआईभी जस्ता गम्भीर र निको नहुने रोग भएको अवस्था समावेश छन्।

यसरी हेर्दा नेपालले गर्भपतनलाई केवल स्वास्थ्य सेवा मात्र नभई मानवअधिकार र सामाजिक न्यायसँग जोडेर हेरेको स्पष्ट देखिन्छ।

यस कानुनी संरचनाले महिलाको स्वतन्त्र निर्णय अधिकारलाई मान्यता दिएको भए पनि यसको कार्यान्वयन र सेवा प्रवाहको अवस्था अझै पूर्ण रूपमा सन्तोषजनक छैन।

सेवा कहाँ र कसरी पाइन्छ?

नेपालमा सुरक्षित गर्भपतन सेवा सरकारले मान्यता दिएका (सूचीकृत) स्वास्थ्य संस्थाहरूबाट उपलब्ध हुन्छ। यस्ता सेवाहरू सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा अनुमति प्राप्त निजी क्लिनिकहरूमा प्रदान गरिन्छन्।

अधिकांश अवस्थामा सरकारी स्वास्थ्य संस्थामा यो सेवा निःशुल्क वा न्यून शुल्कमा उपलब्ध हुन्छ। सेवा लिन चाहने महिलाले सम्बन्धित स्वास्थ्य संस्थामा गई परामर्श लिनुपर्ने हुन्छ। प्रशिक्षित स्वास्थ्यकर्मीले गर्भको अवस्था, अवधि र स्वास्थ्य स्थितिका आधारमा औषधि वा उपकरणमार्फत सुरक्षित रूपमा गर्भपतन सेवा प्रदान गर्छन्।

साथै, सेवा गोपनीय राख्ने व्यवस्था पनि गरिएको हुन्छ। ताकि सेवाग्राहीले बिना डर र दबाब सुरक्षित रूपमा आफ्नो अधिकार प्रयोग गर्न सकून्।

व्यवहारमा किन समस्या?

नेपालमा गर्भपतनसम्बन्धी कानुन प्रगतिशील भए पनि व्यवहारमा यसको कार्यान्वयन चुनौतीपूर्ण देखिन्छ। मुख्य समस्या सेवा पहुँचको असमानता हो। शहरी क्षेत्रमा सुरक्षित सेवा उपलब्ध भए पनि ग्रामीण र दुर्गम क्षेत्रमा पर्याप्त स्वास्थ्य संस्था र दक्ष जनशक्ति अभाव कायमै छ।

सामाजिक लाञ्छना र गोपनीयता भंग हुने डरका कारण धेरै महिलाहरू सरकारी सेवा छोडेर अनधिकृत निजी क्लिनिक वा फार्मेसीतर्फ जाने गर्छन्। साथै, सूचीकृत नभएका संस्थाहरूको नियमन कमजोर हुँदा असुरक्षित अभ्यासहरू अझै पनि चलिरहेका छन्।

स्थानीय तहमा निगरानी र कार्यान्वयन क्षमता कमजोर भएकाले कानुनले दिएको अधिकार व्यवहारमा पूर्ण रूपमा लागू हुन सकेको छैन। जसले असुरक्षित गर्भपतनको जोखिम अझै कायम राखेको छ।

‘गोपनीयता’ र ‘सुरक्षा’ बीचको द्वन्द्व

नेपालमा सुरक्षित गर्भपतन सेवाको सन्दर्भमा ‘गोपनीयता’ र ‘सुरक्षा’ बीचको द्वन्द्व एउटा प्रमुख चुनौतीका रूपमा देखिएको छ। कानुनले सरकारी तथा सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित र निःशुल्क सेवा उपलब्ध गराएको भए पनि धेरै महिलाहरू सामाजिक डर, लाज र समुदायको नकारात्मक दृष्टिकोणका कारण यी संस्थाहरूमा जान हिच्किचाउँछन्।

उनीहरूलाई आफ्नो गर्भपतनको जानकारी अरूलाई थाहा हुने, सामाजिक बहिष्कार वा आलोचनाको सामना गर्नुपर्ने डरले ग्रस्त बनाउँछ। यही कारणले गर्दा धेरै महिलाहरू गोपनीयता सुरक्षित हुने आशामा निजी क्लिनिक, फार्मेसी वा सूचीकृत नभएका स्वास्थ्य प्रदायकहरूतर्फ आकर्षित हुन्छन्। जहाँ सेवा गोप्य हुने विश्वास गरिन्छ। तर यस्तो छनोटले उनीहरूलाई सुरक्षित स्वास्थ्य प्रक्रियाबाट टाढा पुर्‍याउने र जीवन नै जोखिममा पार्ने अवस्था सिर्जना गर्छ।

अर्कोतर्फ, सरकारी स्वास्थ्य संस्थाहरूमा सेवा तुलनात्मक रूपमा सुरक्षित भए पनि सेवा लिने क्रममा पहिचान खुल्ने डर, कर्मचारीको व्यवहार, र सामाजिक पूर्वाग्रहको सम्भावनाले महिलाहरूलाई असहज बनाउँछ। विशेषगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरूका लागि समुदाय सानो हुने भएकाले गोपनीयता कायम राख्नु अझ कठिन हुने समस्या रहेको छ।

यसरी गोपनीयता खोज्ने प्रयासले सुरक्षा घटाउने र सुरक्षा खोज्दा गोपनीयता गुम्ने अवस्था सिर्जना भएको छ। यही असन्तुलनका कारण धेरै महिलाहरू जोखिमपूर्ण विकल्प रोज्न बाध्य भइरहेका छन्। जसले असुरक्षित गर्भपतन र मातृ मृत्युदरलाई अझै कायम राखेको देखिन्छ।

समाधान 

यस समस्याको समाधानका लागि सबैभन्दा पहिले सेवा पहुँच विस्तार गर्न आवश्यक छ। प्रथमत: ग्रामीण र दुर्गम क्षेत्रमा सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्य संस्था, दक्ष स्वास्थ्यकर्मी र औषधिको उपलब्धता सुनिश्चित गर्नुपर्छ।

दोस्रो, गोपनीयता र मर्यादाको ग्यारेन्टी मजबुत बनाउनुपर्छ। सेवा लिने महिलाको जानकारी पूर्ण रूपमा सुरक्षित राखिने, र उनीहरूलाई सामाजिक डर बिना सेवा लिन सक्ने वातावरण निर्माण गर्न आवश्यक छ।

तेस्रो, अनधिकृत क्लिनिक र फार्मेसीमाथि कडा अनुगमन र कानुनी कारबाही हुनुपर्छ। सूचीकृत नभएका ठाउँमा गर्भपतन सेवा दिने कार्यलाई कडाइका साथ नियन्त्रण गर्नुपर्छ।

चौथो, स्थानीय तहको क्षमता विकास गर्नुपर्छ। जनशक्ति तालिम, बजेट व्यवस्थापन र स्वास्थ्य प्रणाली सुदृढीकरण गरेर सेवा कार्यान्वयनलाई प्रभावकारी बनाउन सकिन्छ।

पाँचौँ, जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक छ। सुरक्षित गर्भपतन कानुनी अधिकार हो भन्ने कुरा समुदायसम्म पुर्‍याउन सके सामाजिक लाञ्छना घटाउन मद्दत गर्छ।

अन्ततः नेपालमा गर्भपतनसम्बन्धी कानुन विश्वमै प्रगतिशीलमध्ये एक मानिए पनि यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको छ। कानुनले महिलालाई सुरक्षित र सम्मानजनक रूपमा आफ्नो प्रजनन स्वास्थ्यसम्बन्धी निर्णय गर्ने अधिकार दिएको भए पनि व्यवहारमा सेवा पहुँच, सामाजिक लाञ्छना, गोपनीयताको डर र कमजोर नियमनका कारण धेरै महिलाहरू अझै असुरक्षित विकल्प रोज्न बाध्य छन्।

यसले कानुन र व्यावहारिकताबीचको गहिरो खाडललाई प्रस्ट देखाउँछ। अबको आवश्यकता भनेको कानुनी व्यवस्था मात्र नभई, त्यसलाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्नु हो। सुरक्षित सेवा सबै महिलाका लागि सहज, गोप्य र पहुँचयोग्य बनाउन सके मात्र असुरक्षित गर्भपतन र त्यसबाट हुने जोखिमपूर्ण मृत्युहरू घटाउन सकिन्छ।

महिलाको स्वास्थ्य, सम्मान र अधिकार सुनिश्चित गर्ने दिशामा राज्य, स्वास्थ्य प्रणाली र समाज सबैको संयुक्त जिम्मेवारी अपरिहार्य छ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५

काठमाडौं आएर बालेनलाई हर्कले भने- ‘हुकुम्बासीलाई कारबाही गर्नुहोस्’ (भिडियो)

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले नक्कली सुकुम्वासीको पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सोमबार थापाथलीस्थित सरकारले भत्काएको सुकुम्वासी बस्तीमा पुगेर साम्पाङले नक्कली सुकुम्वासीका कारण वास्तविक भूमिहीन तथा सुकुम्वासीहरू समस्यामा परेको भन्दै यस्तो माग गरेका हुन्।

उनका अनुसार केही व्यक्तिहरूले सुकुम्वासीको नाममा सरकारी जग्गा कब्जा गर्ने मात्र होइन। भाडामा लगाएर आर्थिक लाभ समेत लिइरहेको देखिएको छ। यस्ता गतिविधिमा संलग्नलाई छानबिन गरी कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।

साम्पाङले बस्ती हटाउनुअघि वास्तविक सुकुम्वासीको स्पष्ट पहिचान नगरी एक्कासि डोजर चलाउँदा वास्तविक पीडित थप संकटमा परेको टिप्पणी गरे। ‘गरिब जनतालाई विस्थापित गर्नु समाधान होइन।’,उनले भने, ‘उनीहरूको जीवन सुरक्षित हुने गरी सरकारले दीर्घकालीन व्यवस्थापन गर्नुपर्छ।’

उनले सरकारलाई नागरिकको अधिकारलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप संवेदनशील र व्यवस्थित कदम चाल्न पनि सुझाव दिएका छन्।

साम्पाङले वास्तविक भूमिहीनको पहिचान, पुनःस्थापना र सामाजिक सुरक्षाको सुनिश्चितता राज्यको जिम्मेवारी भएको उल्लेख गर्दै यस विषयमा तत्काल सुधार आवश्यक रहेको बताए।

बालेन क्याबिनेट बैठक : यस्ता छन् निर्णय

काठमाडौं। सरकारले सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू जानकारी गराएका हुन्।

बैठकले संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन अध्यादेश पुनः राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सरकारका अनुसार उक्त अध्यादेश यसअघि राष्ट्रपति कार्यालयबाट पुनर्विचारका लागि फिर्ता भएको थियो। प्रवक्ता पोखरेलले यसपटक पनि कुनै परिमार्जन नगरी पुरानै स्वरूपमा पुनः सिफारिस गरिएको स्पष्ट पारे।

त्यस्तै बैठकले सिंहदरबार परिसरको परिमार्जित गुरु योजना स्वीकृत गरेको छ। सो योजनामा संसद भवन परिसरमा प्रवेश तथा व्यवस्थापन सम्बन्धी प्रावधानहरू पनि समावेश गरिएको जनाइएको छ।

कृषि क्षेत्रका लागि सरकारले भारतसँग सरकारी-सरकारी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिएको छ।

ऊर्जा र उद्योग क्षेत्रसँग सम्बन्धित अर्को निर्णयमा परम्परागत बॉयलरलाई विद्युतीय (इलेक्ट्रोनिक) बॉयलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय भएको छ।

त्यसैगरी वायु गुणस्तर मापन क्षमता विस्तारका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

पत्रकार सम्मेलनमा प्रवक्ता पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पार्दै यस विषयमा नेपाल सरकारको अडान प्रष्ट रहेको बताए। अन्य सीमा विवादका विषयमा सम्बन्धित देशहरूसँग कूटनीतिक छलफलमार्फत समाधान खोजिने उनले उल्लेख गरे।

सहकारी ठगीमा संग्लग्न व्यक्ति उम्मेदवार बन्न नपाउने रास्वपाको नियम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी, मिटरब्याजी तथा अवैध आर्थिक गतिविधिमा संलग्न व्यक्तिलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार नबनाउने नीति सार्वजनिक गरेको छ। स्थानीय तहका उम्मेदवार छनोटका लागि जारी गरिएको नयाँ रुपरेखामा यो व्यवस्था गरिएको हो ।

रुपरेखामा उम्मेदवारहरूले मिटरब्याजी, सट्टेबाजी, हप्ताअसुली, ढुकुटी, हुण्डी कारोबार वा सहकारी संस्थाको बचत अपचलन जस्ता कुनै पनि गैरकानुनी वा अनौपचारिक आर्थिक क्रियाकलापमा प्रत्यक्ष वा परोक्ष संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने उल्लेख छ।

स्थानिय तहका उम्मेदवारका लागि यो नियम बनाइरहदा पार्टीका सभापति रवि लामिछानेमाथि नै सहकारी ठगी र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा विभिन्न जिल्लामा विचाराधीन छन्। कास्की, चितवन, पर्सा, काठमाडौँ र रुपन्देहीमा उनीविरुद्ध उजुरी दर्ता छन्। तल्लो तहका उम्मेदवारमा कडा मापदण्ड बनाउने रास्वपाले आफ्नै नेतृत्वको मुद्दा भने बेवास्ता गरेको छ।

स्थानीय तहको उम्मेदवार बन्न क्यान्डिडेट क्लबमा तोकिएका संवैधानिक तथा कानुनी योग्यता अनिवार्य छन्। उम्मेदवार २१ वर्ष उमेर पूरा भएको र सम्बन्धित पालिकाको मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्नेछ।

पार्टीले तोकेको अतिरिक्त योग्यता अनुसार उम्मेदवारले सुशासन, पारदर्शिता र नागरिक उत्तरदायित्वको मूल मर्मप्रति पूर्ण प्रतिबद्धता जनाउनुपर्नेछ। साथै, पार्टीको विधान, प्रस्तावना तथा मूल्य मान्यताप्रति स्पष्ट आस्था राख्नु पर्ने उल्लेख छ।

उम्मेदवारले अन्य कुनै दलको सदस्यता राखेको भए त्यसलाई विधिवत् त्याग गरिसकेको हुनुपर्नेछ। साथै, कार्यसम्पादन मूल्यांकन प्रणाली स्वीकार गर्ने र छनोट प्रक्रियामा पूर्ण रूपमा सहभागी हुने प्रतिवद्धता समेत आवश्यक छ।

पार्टी विधानअनुसार उम्मेदवारले माग गरिएका सबै कागजात अद्यावधिक सम्पत्ति विवरण, प्रहरी चरित्र प्रमाणपत्र आदि पेश गर्न मञ्जुर हुनुपर्नेछ। यसैमा उम्मेदवारको सबै शैक्षिक प्रमाणपत्र सक्कली रहेको र प्रमाणीकरण गर्दा प्रमाणित हुने स्वघोषणा पनि जोडिएको छ।

वैवाहिक अवस्थासम्बन्धी स्पष्टता पनि अनिवार्य गरिएको छ। उम्मेदवारले आफ्नो पारिवारिक तथा वैवाहिक स्थिति कानुनसम्मत र विवादरहित रहेको स्वघोषणा गर्नुपर्नेछ।

दुर्व्यवहार तथा डिजिटल अपराधसम्बन्धी मापदण्डमा, उम्मेदवार कुनै पनि प्रकारको घरेलु हिंसा, यौन दुर्व्यवहार, सार्वजनिक स्थलमा अमर्यादित व्यवहार वा साइबर बुलिइङ, अनलाइन ठगी जस्ता गतिविधिमा संलग्न नभएको घोषणा गर्नुपर्नेछ।

वित्तीय र आर्थिक शुद्धताको भागमा, उम्मेदवारले मिटरब्याज, हुण्डी, सट्टेबाजी, ढुकुटी वा सहकारी अपचलनसम्बन्धी कुनै पनि कारोवारमा सहभागी नरहेको स्वघोषणा गर्नुपर्नेछ।

स्वार्थ बाझिने अवस्थाबारे पनि पार्टीले स्पष्टता मागेको छ। उम्मेदवारले आफूले उम्मेदवारी दिन लागेको पालिकामा निर्माण, ठेक्का, खरिद वा उपभोक्ता समितिमा आफू वा परिवारको व्यवसायिक संलग्नता भए नभएको तथ्य प्रस्तुत गर्नुपर्नेछ।

त्यस्तै, विचाराधीन मुद्दा तथा कानुनी विवादसम्बन्धी विवरण पनि खुलाउनुपर्नेछ। यदि अदालत वा अन्य न्यायिक/अर्धन्यायिक निकायमा फौजदारी, ठगी, भ्रष्टाचार वा गम्भीर देवानी मुद्दा चलिरहेको भए सोको यथार्थ स्थिति उल्लेख गर्नुपर्ने मापदण्ड राखिएको छ।

रास्वपाले स्थानीय तहका उम्मेदवारका लागि कडा र विस्तृत मापदण्ड प्रस्तुत गरे पनि आफ्नै शीर्ष नेतृत्वमाथि उठेका मुद्दा भने उस्तै गरी प्राथमिकतामा परेको देखिन्न, जसले यसको नैतिकतामाथि प्रश्न उठाइरहेको छ।

विज्ञान-प्रविधि मन्त्रालय खारेज गर्न खोजेको भन्दै बालेन सरकारमाथि खनिए महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद महावीर पुनले वर्तमान सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई उपेक्षा गर्न खोजेको भन्दै कडा असन्तुष्टि जनाएका छन्।

पूर्व शिक्षामन्त्रीसमेत रहेका पुनले विज्ञान तथा प्रविधि मन्त्रालयको अस्तित्व नै कमजोर पार्ने र नवप्रवर्तनलाई उद्योग मन्त्रालयअन्तर्गत सीमित गर्ने प्रयास भइरहेको आरोप लगाएका हुन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्।

उनले लेखेका छन्, ‘सामाजिक सञ्जाल हेर्दा अहिलेको सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनमा गम्भीरता देखाउने संकेत देखिँदैन। बरु नवप्रवर्तनलाई उद्योग मन्त्रालयमा सीमित गर्ने र विज्ञान तथा प्रविधि मन्त्रालय नै कमजोर बनाउने प्रयास भइरहेको जस्तो लाग्छ।’

पुनका अनुसार नवप्रवर्तन कुनै एक मन्त्रालय वा क्षेत्रभित्र मात्र सीमित हुने विषय होइन। उनका अनुसार यो राजनीति, प्रशासन, सुशासन, स्वास्थ्य, कृषि, शिक्षा, व्यापारदेखि विज्ञान, प्रविधि, जीवन विज्ञान, कला र साहित्यसम्म सबै क्षेत्रमा फैलिने बहुआयामिक प्रक्रिया हो।

उनले सरकारलाई विज्ञान र अनुसन्धानलाई प्राथमिकता दिन र मन्त्रालय गाभ्ने वा कमजोर बनाउने खालका निर्णय नगर्न चेतावनीसमेत दिएका छन्। व्यंग्यात्मक शैलीमा उनले लेखेका छन्, ‘मेरो टाउको फोड्नु नपरोस् है सरकारका साथीहरू।’

पुनले लामो समयदेखि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तीमा १ प्रतिशत बजेट अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा छुट्याउनुपर्ने माग गर्दै आएका छन्। उनका अनुसार देशको दीर्घकालीन विकासका लागि विज्ञान-प्रविधिमा लगानी अपरिहार्य छ।

सात पूर्वराजदूतहरू एकै स्वर : चीनसँग कूटनीतिक पहलमा जोड

काठमाडौं। चीनका लागि नेपालका सात पूर्वराजदूतहरूले लिम्पियाधुरा क्षेत्रबारे सरकारले हालै जारी गरेको वक्तव्यको समर्थन गर्दै सराहना गरेका छन्।

सोमबार जारी संयुक्त वक्तव्यमा उनीहरूले लिम्पियाधुरा नेपालको अभिन्न भू-भाग भएको स्पष्ट गर्दै मित्र राष्ट्र चीन र भारत दुवै नेपालप्रति सार्वभौमिक सम्मानका साथ संवेदनशील रहने विश्वास व्यक्त गरेका छन्। पूर्वराजदूतहरूले सरकारको हालैको कूटनीतिक अभिव्यक्तिलाई सकारात्मक र आवश्यक कदमको रूपमा मूल्यांकन गरेका हुन्।

संयुक्त वक्तव्य जारी गर्नेमा पूर्वराजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टङ्क कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओली रहेका छन्। उनीहरूले नेपाल-चीन दौत्य सम्बन्ध ७० वर्ष पुगेको अवसरमा यो धारणा सार्वजनिक गरेका हुन्।

वक्तव्यमा नेपालले लामो समयदेखि अवलम्बन गर्दै आएको ‘एक चीन नीति’ प्रति आफ्नो दृढ प्रतिबद्धता पुनः स्मरण गरिएको छ। साथै, नेपालको भूमि कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन नदिने अडानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।

पूर्वराजदूतहरूले वर्तमान भू-राजनीतिक परिस्थितिमा नेपालले आफ्नो सीमा सुरक्षा र सार्वभौमिकताको रक्षा गर्न तत्काल र प्रभावकारी कूटनीतिक पहल अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

त्यस्तै, नेपाल–चीनबीचका बीआरआईलगायत आर्थिक, सांस्कृतिक, शैक्षिक तथा विकास साझेदारीका परियोजनाहरूलाई शीघ्र कार्यान्वयनमा लैजानुपर्ने सुझाव पनि उनीहरूले दिएका छन्।

पूर्वराजदूत महेश मास्केका अनुसार बैठकमा सहभागी सबैले यी परियोजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन नेपालले सक्रिय भूमिका खेल्नुपर्नेमा एकमत व्यक्त गरेका थिए।

पूर्वराजदूतहरूको यो सामूहिक धारणा नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ बनाउन कूटनीतिक पहल आवश्यक रहेको सन्देशका रूपमा लिइएको छ।

बस्नेतसहित २१ जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-२६ पवित्रनगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २२० ट्याब्लेटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नयाँ बसपार्क बस्ने झापा घर भएका ३३ वर्षीय सबिन बस्नेत, काठमाडौं सामाखुशी बस्ने मोरङ घर भएका २१ वर्षीय आयुष लिम्बु र काठमाडौं पवित्रनगर बस्ने दोलखा घर भएका १८ वर्षीय किशोर रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं कीर्तिपुर नगरपालिका-१० बाट ट्रामाडोल १४० ट्याब्लेट, नाइट्राभेट २ ट्याब्लेट र नगद १,४०० रुपैयाँसहित सोही ठाउँ चिलन्चो बस्ने २९ वर्षीय योगेन्द्र महर्जन सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरी चौकी कीर्तिपुरले नियन्त्रणमा लिएको हो ।

बाराको जीतपुरसिमरा-१ पथलैया चोकबाट करिब २१ किलो गाँजासहित मकवानपुर घर भएका १७ वर्षीय किशोरसहित २ जनालाई आइतबार राति पक्राउ गरिएको छ । हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको स्कुटर जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

पाल्पाको तानसेन नगरपालिका-९ अम्लिहानबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २९० मिलिग्राम र नगद ११,६१० रुपैयाँसहित माथागढी गाउँपालिका-३ का ३३ वर्षीय प्रेमबहादुर राना र २६ वर्षीय आशिष राना पक्राउ परेका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन एम्पुलसहित लमजुङ राइनास नगरपालिका–९ का २९ वर्षीय सुमन तामाङ पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको माइक्रोमा फेला पारिएको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका-६ खैरेनाबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २२ वर्षीय शिवकुमार राना पक्राउ परेका छन् । त्यस्तै बेलडाँडी नगरपालिका–५ झिलमिलाबाट ब्राउनसुगरसहित २९ वर्षीय रामबहादुर कठायत र ३३ वर्षीय हर्कबहादुर बुढा पक्राउ परेका छन् ।

कैलालीको टीकापुर नगरपालिका–७ खैरीपुरबाट खैरो हेरोइनसहित ३२ वर्षीय श्यामबहादुर चौधरी र २५ वर्षीय भानु गिरी पक्राउ परेका छन् । त्यस्तै धनगढी उपमहानगरपालिका–८ भगत चोकबाट ब्राउनसुगरसहित ४० वर्षीय राजाराम चौधरी र २४ वर्षीय शंकर चौधरी पक्राउ परेका छन् ।

मोरङ सुन्दरहरैँचा नगरपालिका-८ बाट करिब २ किलो ५ सय ग्राम गाँजासहित ८० वर्षीय चन्द्रबहादुर बिष्ट पक्राउ परेका छन् । घर तलासीका क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

सुनसरी इटहरी उपमहानगरपालिका-१७ पकलीबाट ब्राउनसुगरसहित २६ वर्षीय प्रकाश भुजेल पक्राउ परेका छन् ।

सिराहा धनगढीमाई नगरपालिका-५ तेतिस विगहाबाट खैरो हेरोइन ८ ग्राम र डिजिटल तराजुसहित २० वर्षीय भरत कुमार मण्डल र २१ वर्षीय जिवछ साफी पक्राउ परेका छन् । उनीहरूले प्रयोग गरेको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि लागूऔषध सम्बन्धी कानुनी कारबाही अघि बढाइएको छ र थप अनुसन्धान भइरहेको छ।

आइतबार बिदा : सरकारी अस्पतालमा लाग्यो सर्वसाधारणको भीड (तस्वीरहरू)

काठमाडौं। सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार विभिन्न सरकारी अस्पतालका बहिरङ्ग (ओपीडी) सेवामा बिरामीको चाप अत्यधिक बढेको छ।

पछिल्लो समय विश्वव्यापी रूपमा देखिएको इन्धन अभावको असर व्यवस्थापन गर्न सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सो निर्णयपछि सोमबार एकैदिन धेरै बिरामी सेवा लिन अस्पताल पुगेका कारण भीड बढेको हो।

राजधानीका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर लगायतका ठूला सरकारी अस्पतालमा बिहानैदेखि लामो लाइन देखिएको छ। सामान्य स्वास्थ्य जाँचदेखि जटिल रोगको उपचारसम्मका लागि एउटै सरकारी प्रणालीमा निर्भर रहनुपर्ने बाध्यताले सेवा लिनेहरूको संख्या बढिरहेको चिकित्सकहरू बताउँछन्।

स्वास्थ्यकर्मीका अनुसार एक चिकित्सकले दैनिक करिब १०० देखि १५० जना बिरामी हेर्नुपर्ने अवस्था छ। जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा धेरै बढी हो। सामान्यतया गुणस्तरीय सेवा दिन एक चिकित्सकले दैनिक ३० देखि ४० जना बिरामी हेर्न उपयुक्त मानिन्छ। तर काठमाडौँका सरकारी अस्पतालमा यो संख्या तीनदेखि चार गुणासम्म बढी देखिएको छ।

बिरामीको अत्यधिक चापका कारण चिकित्सकहरूले प्रत्येक बिरामीलाई पर्याप्त समय दिन नसक्ने अवस्था बनेको छ, जसले उपचारको गुणस्तरमा असर पर्ने जोखिम बढाएको स्वास्थ्य विज्ञहरूको भनाइ छ।

अर्कोतर्फ निजी अस्पतालको उपचार खर्च महँगो हुँदा न्यून आय भएका नागरिकहरू सरकारी अस्पतालमै निर्भर रहन बाध्य छन्। निजी अस्पतालमा सामान्य जाँचमै पनि धेरै खर्च लाग्ने भएकाले सर्वसाधारणको पहुँच सीमित छ।

स्वास्थ्य सेवा विभागका एक अधिकारीका अनुसार जनशक्ति, पूर्वाधार र उपकरण विस्तार नगरेसम्म समस्या समाधान कठिन छ। उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र र प्रदेशस्तरका अस्पताललाई सुदृढ बनाए मात्र काठमाडौँका ठूला अस्पतालमा हुने भीड घटाउन सकिन्छ।

‘बिरामीको चाप घटाउन प्राथमिक स्वास्थ्य केन्द्र र प्रदेशस्तरका अस्पताललाई प्रभावकारी बनाउनुपर्छ,’ उनले भने।

विशेषज्ञहरू स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार र चिकित्सक संख्या वृद्धि गरे मात्र सरकारी अस्पतालमा देखिएको चाप व्यवस्थापन गर्न सकिने बताउँछन्।

तस्वीरहरु

युद्ध अन्त्यबारे इरानको प्रस्तावमा अमेरिकाले भन्यो – ‘अध्ययन जारी छ’

एजेन्सी। इरानले युद्ध अन्त्यका लागि अघि सारेको १४ बुँदे प्रस्तावमा संयुक्त राज्य अमेरिकाले औपचारिक प्रतिक्रिया पठाएको जनाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बाघेईले सरकारी टेलिभिजनसँग कुरा गर्दै उक्त प्रतिक्रिया प्राप्त भइसकेको र हाल त्यसको विस्तृत अध्ययन भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार इरानको प्रस्तावको मुख्य उद्देश्य क्षेत्रीय युद्ध रोक्नु र तनाव कम गर्नु हो। यसमा आणविक कार्यक्रमसँग सम्बन्धित प्राविधिक विषयहरू समावेश नगरिएको उनले स्पष्ट पारे।

बाघेईले अहिलेको चरणमा प्राथमिकता युद्धविराम र क्षेत्रीय स्थायित्वमा केन्द्रित रहेको बताए। विशेषगरी लेबनानलगायत क्षेत्रमा देखिएको तनाव समाधान गर्ने विषयलाई पनि छलफलको हिस्साका रूपमा लिइएको उनको भनाइ छ।

यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अरागचीले ओमान र जर्मनीका समकक्षीसँग छुट्टाछुट्टै टेलिफोन संवाद गरेका छन्। ती वार्तामा पछिल्लो क्षेत्रीय अवस्था र कूटनीतिक प्रयासमार्फत तनाव घटाउने सम्भावनाबारे छलफल भएको इरानी विदेश मन्त्रालयले जनाएको छ।

पछिल्लो समय इजरायल र अमेरिकाले इरानका केही सहरहरूमा संयुक्त सैन्य कारबाही गरेको र त्यसको जवाफमा इरानले पनि ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको बताइन्छ, जसले क्षेत्रीय तनाव बढाएको छ।

यद्यपि त्यसपछि अस्थायी युद्धविराम लागू भए पनि दीर्घकालीन समाधानका लागि भएका वार्ताहरूले अझै ठोस नतिजा दिन सकेका छैनन्। हालको अवस्था कूटनीतिक प्रयासका लागि संवेदनशील र निर्णायक चरणमा रहेको देखिन्छ।

अभिनेत्री  स्वस्तिमा भन्छिन्: ‘चलचित्रको बिजनेस ‘ट्रिकी’ हुन्छ’

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का ले चलचित्रको व्यवसायिक पक्ष सधैँ अनिश्चित र जटिल हुने बताएकी छिन्। उनका अनुसार कुनै पनि चलचित्रले कति कमाइ गर्छ भन्ने कुरा निर्माण पक्षले पहिले नै अनुमान गर्न नसक्ने विषय हो।

स्वस्तिमाले चलचित्रको व्यापारलाई ‘कन्फ्युजिङ’ (अस्पष्ट) विषयसँग तुलना गर्दै दर्शकको रुचि अनुमान गर्न नसकिने बताइन्। ‘कमर्सको हिसाबले सिनेमा आफैँमा कन्फ्युजिङ विषय हो। अडियन्सलाई के मन पर्छ भन्ने हामीलाई थाहै हुँदैन,’ उनले भनिन्।

उनका अनुसार यदि दर्शकको रुचि स्पष्ट रूपमा अनुमान गर्न सकिने भए सबै चलचित्र एउटै ढाँचामा बन्ने थिए र सबै सफल हुने सम्भावना हुन्थ्यो। तर वास्तविकता त्यस्तो नभएको उनको भनाइ छ।

स्वस्तिमाले चलचित्रको सफलता वा असफलता सुनिश्चित नहुने भए पनि निर्माणमा इमानदारी आवश्यक रहेको बताइन्। ‘निर्माताले इमानदार भएर चलचित्र बनाएको छ भने त्यो चलचित्रले आफ्नो भागको माया पाउँछ,’ उनले भनिन्।

उनले चलचित्र निर्माणको मुख्य उद्देश्य पैसा भन्दा पनि कथा भन्ने हुनुपर्नेमा जोड दिइन्। निर्देशकले आफूले भन्न खोजेको कथा प्रस्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनको धारणा छ। ‘दर्शकलाई के मन पर्छ भनेर मात्र सोचेर चलचित्र बनाउने हो भने त्यो निर्देशकको आफ्नै सिर्जना हुँदैन,’ उनले भनिन्।

उनका अनुसार चलचित्र बनाइसकेपछि मात्र त्यसलाई दर्शकमाझ कसरी पुर्‍याउने र बढीभन्दा बढी दर्शकसम्म कसरी पहुँच बनाउने भन्ने रणनीति तय गरिन्छ।

नक्कली चुरोट बेच्दा २ जना पक्राउ

धनगढी। बझाङमा नक्कली ‘खुकुरी’ ब्रान्डका चुरोटसहित दुई जना पक्राउ परेका छन्।

जयपृथ्वी नगरपालिका-१० को जिपपार्क क्षेत्रमा नियमित जाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपक बिष्टका अनुसार पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-९ का ३२ वर्षीय पंकज चौधरी र बैतडी पाटन नगरपालिका-२ का २१ वर्षीय हेमराज पाण्डेय छन्।

चौधरीले चलाएको सु.प.प्र. ००१ क २५५२ नम्बरको मिनी ट्रकबाट ९ पेटी र १० डण्डा नक्कली खुकुरी चुरोट बरामद गरिएको बिष्टले जानकारी दिए। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ट्रक जाँच गर्दा चुरोट फेला परेको हो।

बरामद चुरोटसहित चालक चौधरी र रिटेल व्यवसायमा संलग्न पाण्डेयलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक बिष्टका अनुसार यो आन्तरिक राजस्वसम्बन्धी मुद्दा भएकाले आवश्यक कारबाहीका लागि दस्ती सम्बन्धित निकायमा पठाइने छ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

आजको बैठकमा मन्त्रालयहरूको संख्या घटाउने र नयाँ संरचनाको खाका पेश गर्ने तयारी भएको छ। सरकार ४ वटा मन्त्रालय खारेज गर्ने दिशामा अग्रसर छ।

खारेज हुन लागेको मन्त्रालयहरूमा युवा तथा खेलकुद, शहरी विकास, खानेपानी तथा सरसफाइ तथा संघीय मामला तथा सामान्य प्रशासन परिचालित छन्।

यससँगै प्रधानमन्त्री कार्यालयलाई थप शक्तिशाली बनाउने गरी नयाँ संरचनाको प्रारूप तयार पारिएको स्रोतले जनाएको छ।

‘आबाट आमा–२’ को शुभमुहूर्त : पल शाहसहित पुरानै टोली दोहोरिँदै

काठमाडौं। अभिनेता पल शाहको मुख्य भूमिका रहने नयाँ फिल्म ‘आबाट आमा–२’ को सोमवार बिहान बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ।

फिल्मको स्क्रिप्ट पूजा गर्दै निर्माण कार्य औपचारिक रूपमा अघि बढाइएको निर्माण पक्षले जनाएको छ। अघिल्लो वर्षको सुपरहिट ‘आ बाट आमा’ को सिक्वेलका रूपमा निर्माण हुने यस फिल्ममा केही पुराना कलाकार पुनः दोहोरिनेछन्।

फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत र गजित विष्टलगायत कलाकार पुनः देखिनेछन् भने आकाश श्रेष्ठ र नरेन खड्का यसपटक नयाँ रूपमा जोडिएका छन्। अभिनेत्रीहरू भने अझै छनोट हुन बाँकी रहेको निर्देशक चन्द्र पन्तले जानकारी दिएका छन्।

निर्देशक पन्तका अनुसार छायांकन तालिका केही दिनमै तय गरिनेछ भने हाल कलाकार तथा प्राविधिक टोलीको छनोट कार्य जारी छ। निर्माण टिमले फिल्मलाई आगामी बडादशैँमा प्रदर्शन गर्ने लक्ष्य दोहोर्‍याएको छ।

फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहनेछ। आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यस फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। प्रोडक्सन म्यानेजरका रूपमा करणसिंह रसाली रहेका छन्।

कपन पुग्यो डोजर : साततले क्षेत्रमा अतिक्रमित संरचना भत्काउन सुरु (तस्वीरहरू)

काठमाडौं । काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती र सार्वजनिक जग्गा खाली गराउने अभियानलाई सरकारले तीव्रता दिएको छ।

सोही क्रममा आज बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनको साततले क्षेत्रमा अतिक्रमित जग्गामा बनाइएका संरचनाहरूमा डोजर चलाइएको छ।

लामो समयदेखि खोला र सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा तथा स्थायी संरचना हटाउन सरकारले गरेको तयारीअनुसार आज बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाउन सुरु गरिएको हो।

सरकारी अधिकारीहरूका अनुसार कपन क्षेत्रमा बर्खायाममा हुने डुबानको समस्या समाधान गर्न र खोलाको प्राकृतिक बहाव पुनःस्थापना गर्न यो कदम चालिएको हो।

बोक्सी भन्दै मलमूत्र खुवाउने एक जना पक्राउ

काठमाडौं । रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीया महिलामाथि ‘बोक्सी’को आरोप लगाउँदै कुटपिट र मलमुत्र खुवाउने अमानवीय घटना भएको छ।

कटहरिया नगरपालिका–९ डुमरिया टोलमा शनिबार भएको उक्त घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय शंकर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय गौरी साह कलवार लगायतले ती महिलालाई ‘बोक्सी’ भन्दै गालीगलौज, लछारपछार र कुटपिट गरेका थिए।

प्रहरीका अनुसार कुटपिटकै क्रममा पीडित महिलालाई जबर्जस्ती मलमुत्र खुवाएर अमानवीय तथा अपमानजनक व्यवहार गरिएको थियो। घटनापछि पीडित महिलाले आइतबार इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ।

बालेन सरकार सुधनमाथि छानबिन खोई?(भिडियो)

काठमाडौं। रास्वपाका सांसद सुधन गुरुङले गृहमन्त्री पदबाट वैशाख ९ गते राजिनामा बुझाएका थिए। राजीनामा दिएको १२ दिन पूरा भएको छ।

राजीनामापछि गृह मन्त्रालय औपचारिक रूपमा नेतृत्वविहीन बनेको छ।  भने संवेदनशील सुरक्षा संरचनाको व्यवस्थापन प्रधानमन्त्री बालेन्द्र शाहकै प्रत्यक्ष निगरानीमा पुगेको छ।

गुरुङमाथि सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर विवरण नदेखिएको तथा विवादास्पद व्यापारी दीपक भट्टको कम्पनीमा सेयर रहेको विषय बाहिरिएपछि राजनीतिक दबाब बढेको थियो। यही विवादपछि उनले छानबिनमा सहयोग गर्ने भन्दै पद त्याग गरेको बताएका थिए।

उनले सामाजिक सञ्जालमा पनि पदभन्दा नैतिकता ठूलो रहेको उल्लेख गर्दै निष्पक्ष छानबिनको माग गरेका थिए। तर राजीनामाको ११ दिन बितिसक्दा पनि उनको विषयमा औपचारिक छानबिन प्रक्रिया सुरु भएको छैन।

यसले राजनीतिक वृत्तमा प्रश्न उठाइरहेको छ। यता, रास्वपा सभापति रवि लामिछानेले भने छिट्टै छानबिन प्रक्रिया अघि बढ्ने र त्यसको स्वरूपबारे जानकारी दिइने बताएका छन्।

गुरुङको राजीनामापछि गृहमन्त्रालयको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हालेका छन्। देशको शान्ति सुरक्षा, अपराध अनुसन्धान, आतंकवाद नियन्त्रण, सूचना संयन्त्र तथा समग्र आन्तरिक प्रशासनजस्ता अत्यन्त संवेदनशील र शक्तिशाली जिम्मेवारी अहिले प्रधानमन्त्रीकै प्रत्यक्ष नियन्त्रणमा रहेको बताइन्छ।

औपचारिक मन्त्री नभए पनि दैनिक प्रशासनिक काम भने ठप्प भएको छैन। बरु मन्त्रालयभित्रका गतिविधि प्रधानमन्त्री कार्यालयको निर्देशन र समन्वयमा सञ्चालन भइरहेका छन्। यसले गृहमन्त्रालयलाई अस्थायी रूपमा प्रधानमन्त्री मातहतको प्रत्यक्ष व्यवस्थापनमा चलिरहेको अवस्था देखिएको छ।

त्यस्तै,यसबीच सबैभन्दा बढी चर्चा पाएको विषय हो पूर्वगृहमन्त्री सुधन गुरुङका स्वकीय सचिव जेम्स कार्कीको सक्रियता। मन्त्री पदबाट गुरुङ बाहिरिए पनि कार्की निरन्तर मन्त्रालयका गतिविधिमा संलग्न देखिएका छन्। उनी मनोहरा बस्ती हटाउने अभियानदेखि अन्य प्रशासनिक समन्वयमा समेत सक्रिय भएको बताइन्छ।

कार्कीले सार्वजनिक रूपमा पनि आफूहरूले जनताको हितका लागि काम गरिरहेको र विभिन्न निकायबीच समन्वय गरेर प्रक्रिया अघि बढाइएको बताएका छन्। उनले माननीय, सचिवलगायत निकायको निर्देशन र समन्वयमा काम भइरहेको दाबी गरेका छन्।

मन्त्रालय स्रोतका अनुसार अहिले गृहमन्त्रालयका अधिकांश निर्णय र कार्यान्वयन प्रधानमन्त्रीको निर्देशन र कार्की लगायतको समन्वयमा अघि बढिरहेको छ। यसले औपचारिक मन्त्री नभए पनि प्रशासनिक संरचना पूर्ण रूपमा रोकिएको छैन भन्ने देखाउँछ।

तर गृहमन्त्री पद रिक्त रहँदा नीतिगत निर्णय, दीर्घकालीन सुरक्षा रणनीति र प्रशासनिक स्पष्टता कमजोर भएको टिप्पणी पनि राजनीतिक वृत्तमा उठ्न थालेको छ। कतिपय विश्लेषकले यो अवस्थालाई अस्थायी प्रशासनिक शून्यता भनेका छन्।

यसैबीच गुरुङ पुनः गृहमन्त्रीमा फर्किन सक्ने सम्भावना छ कि भन्ने राजनीतिक वृत्तमा अर्को चर्चा पनि चुलिएको छ। मन्त्रालय लामो समय नेतृत्वविहीन रहनु, स्वकीय सचिवको निरन्तर सक्रियता र छानबिन प्रक्रिया अनिश्चित रहनुले यस्तो अनुमानलाई बल दिएको छ।

तर हालसम्म सरकारले नयाँ गृहमन्त्री नियुक्त गर्ने कुनै औपचारिक निर्णय गरेको छैन। यसले गृह मन्त्रालयको भविष्य, नेतृत्व र छानबिन प्रक्रियाबारे राजनीतिक अनिश्चितता अझै कायम राखेको छ।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको क्रियाशील सदस्यता अद्यावधिक (भिडियो)

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको ‘जरा अभियान’अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् ।

गृह जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडा पुगेर नेता आङ्देम्बले आइतबार क्रियाशील सदस्यता अद्यावधिक गरेका हुन् ।

उनले क्रियाशील सदस्यता नवीकरणको फारम भर्खरै वडा वडामा आइपुगेको भन्दै छिटो सदस्यता नवीकरण गर्न सुझाव दिए । उनले क्रियाशील सदस्यता हुने तर पार्टीले नचिन्ने हुन नहुने बताए । ‘पार्टीको क्रियाशील सदस्य हुने तर पार्टीले नचिन्ने हुँदैन । हिजो त्यस्तै भयो,’ उनले भने, ‘क्रियाशील सदस्य पार्टीको २४ सै घण्टा खटिने कार्यकर्ता हो ।’

प्रमुख विपक्षी नेतासमेत रहेका आङ्देम्बेले जनतालाई भगवानसँग तुलना गरेका छन् ।

उनले कार्यकर्ताले गर्ने कामको आधारमा पार्टीमा जनता आबद्ध हुने भन्दै जनपक्षीय काममा ध्यान दिन क्रियाशील सदस्यलाई सुझाए ।

गत चुनावमा पाँच सय क्रियाशील सदस्य भएको ठाउँमा अढाई सय मात्रै भोट खसेको दृष्टान्त पेस गर्दै भने, ‘अब यस्तो हुनु हुँदैन ।’

 

 

 

 

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई नौमती बाजा बजाउँदै स्वागत (तस्बिरहरू)

काठमाडौं । जन्मथलो पाँचथरको नवमीडाँडा पुग्दा प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई नौमती बाजागाजा बगाउँदै नेता कार्यकर्ताहरूले स्वागत गरेका छन् ।

गलामा माला र खादा लगाएर नेता आङ्देम्बेलाई उनीहरूले बधाई तथा शुभकामना पनि दिएका थिए । कांग्रेस संसदीय दलको नेता निर्वाचित भएपछि आङ्देम्बे पहिलोपटक पाँचथर पुगेका हुन् ।

आइतबार नेता कार्यकर्ताले स्वागत गरेपछि उनले भने, ‘केही दिनअघि नै आउँ लागेको थियो तर विविध कारणले ढिला भयो ।’

नेता आङ्देम्बेलाई स्वागत गर्न जिल्ला सभापति रुपनारायण जबेगू, कोशी प्रदेश सांसद मैया श्रेष्ठ लावती, तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्का, नेताहरू केदार बास्कोटा, बिमला हाङ्सरुम्बालगायत जिल्लास्थित नेता कार्यकर्ताहरू सहभागी थिए ।

२४० महिला सहित २४८ जना पक्राउ

काठमाडौं। प्रहरीले अनैतिक गतिविधि हुने सूचनाका आधारमा काठमाडौं उपत्यकाका विभिन्न मसाज सेन्टरहरूमा छापा मारेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार उक्त कारबाही गरेको हो।

छापामार कारबाहीका क्रममा ती मसाज सेन्टरहरूबाट कुल २ सय ५८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा २ सय ४० महिला र ८ जना पुरुष रहेका छन्।

कार्यालयका अनुसार ठमेल, बौद्ध तथा ललितपुरका विभिन्न स्थानमा रहेका मसाज सेन्टरहरूमा छापा मारिएको हो। मसाज सेन्टरको आवरणमा वेश्यावृत्ति सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा कारबाही गरिएको प्रहरीले स्पष्ट पारेको छ।

राप्रपा त्यागेका रविकिरण हमालले भने– प्रधानमन्त्री बालेन कायर रहेछन्

काठमाडौं । जेन–जी अगुवा रविकिरण हमालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई ‘कायर’को संज्ञा दिएका छन् ।

विगतमा काठमाडौं महानगरपालिकाको प्रमुख छँदा ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेर राष्ट्रवादी बन्ने प्रयास गरेका उनले लिपुलेकमा सेना नपठाएर कायर प्रधानमन्त्री हुन् भन्ने प्रमाणित गरेको गम्भीर आरोप लगाएका हुन् ।

नेपाली भूमि लिपुलेकलाई नेपालको सहमतिबिना भारत–चीनले व्यापारिक कोरिडोरको रूपमा प्रयोग गर्न थाल्दा प्रधानमन्त्री बालेनको अस्वाभाविक मौनताप्रति टिप्पणी गर्दै भने, ‘प्रधानमन्त्री बालेन्द्रजी कायर देखियो ।’

सुकुम्बासीहरूमाथि प्रधानमन्त्री बालेनले अत्याचार गरेको भन्दै उनले कडा शब्दमा आलोचना पनि गरेका छन् । ‘सुकुम्बासीको विस्थापन होइन, व्यवस्थापन गर्नुपर्ने हो तर अहिले जसरी सेना उतारेर जे गर्नुभयो, त्यो सरासर लगत छ,’ उनले नेपालवान एचडीसँग भने ।

जेन–जी विद्रोह उचित भए पनि त्यसलाई अदृश्य शक्तिले घुसपैठ गरेर राजनीतिक लाभ लिएको भन्दै सोही शक्तिको प्रतिनिधि प्रधानमन्त्री बालेन बनेको उनको आरोप छ ।

उनले जेन–जी विद्रोहमा २३ भदौमा जेन–जीहरूलाई उक्साउने टीओबीसहित अन्य समूहलाई कारबाही सिफारिस नभएको र २४ गतेको घटनामा संलग्नहरूप्रति भने अनुसन्धान नै नगरी कार्की आयोगले प्रतिवेदन बुझाएको भन्दै हमालले गम्भीर विमती जनाए । उनले भने, ‘म निष्पक्ष अनुसन्धानको माग गर्दछु ।’

अर्को प्रसङ्गमा उनले देशमा राजसंस्था र हिन्दुराज्यको एजेन्डा असान्दर्भिक भएको बताएका छन् । गत निर्वाचनमा ३ प्रतिशत मत पनि राप्रपालाई प्राप्त नहुनले स्वतः राप्रपाको एजेण्डा जनमतबाट खारेज भएको तर्क गरे ।

उनले राप्रपाको एजेण्डा जनअनुमोदित नहुने निष्कर्षसहित राप्रपा छाडेको पनि घोषणा गरे ।

एमाले अध्यक्ष ओलीलाई सन्चै छ ?

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख र सामान्य रहेको भए पनि, चिकित्सकको कडा सल्लाह अनुसार उनी पूर्ण आराममै बसेका छन्।

केही दिनअघि शरीरमा देखिएको ‘इन्फेक्सन’ बढेपछि परिवार-परिजनबाहेक अन्य सबैसँगको भेटघाट रोकिएको थियो। पार्टी नेतृत्वदेखि कार्यकर्तासम्म ओलीको स्वास्थ्यबारे चासो बढिरहेको छ।

पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालका अनुसार आफूले पनि धेरै दिनदेखि अध्यक्ष ओलीलाई भेट्न सकेका छैनन्। ‘अध्यक्षज्यूलाई केही समयअघि अलि गाह्रो भएको थियो। अहिले अवस्था सामान्य हुँदैछ, सुधार देखिइरहेको छ।’ दाहालले बताए।

चैत १४ गते प्रहरीले उनलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराएको थियो। परीक्षणपछि उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भए। पित्तथैलीको पत्थरी शल्यक्रिया गरिएको थियो।
वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भए पनि ‘इन्फेक्सन’ नघटेसम्म पूर्ण विश्राममै बस्न चिकित्सकले निर्देशन दिएका छन्।

निकट स्रोतका अनुसार अस्पतालबाट घर फर्किएपछि ओलीले कुनै पनि राजनीतिक गतिविधि, भेटघाट, छलफल वा पार्टीभित्रको नियमित कार्यसमेत न्यून मात्र गरेका छन्। उनी अधिकांश समय आफ्नो कोठामै आराम गर्दै उपचारमा केन्द्रित छन्।

ओलीको स्वास्थ्य अवस्थाका कारण एमालेभित्र पछिल्ला केही हप्ता पार्टीगत गतिविधि प्रायः निष्क्रियजस्तै बनेका छन्।
पदाधिकारी तहबाटै पार्टी पुनर्गठन, संगठन विस्तार र विभिन्न संरचनामा नयाँ नेतृत्व छनोट गर्ने विषय उठिरहे पनि, निर्णायक नेतृत्वको रूपमा रहेका ओली निष्क्रिय भएपछि ती बहसहरू ठूला राजनीतिक निर्णयमा परिणत हुन सकेका छैनन्।

उता, पार्टीभित्र अध्यक्षको भौतिक अनुपस्थितिमा आन्तरिक समन्वय कमजोर भएको र निर्णय प्रक्रियामा ढिलाइ भएको नेताहरूको गुनासो पनि बढिरहेको छ।

अन्तिम पटक उनी मे १ अर्थात् श्रमिक दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिँदै सार्वजनिक रूपमा देखिएका थिए।

पार्टीका शीर्ष नेताहरूले अध्यक्षको स्वास्थ्य अवस्थाबारे नियमित अपडेट लिन परिवारका सदस्यसँग सम्पर्क गरिरहेका छन्। उनी निकट स्रोतका अनुसार, चिकित्सकको अनुमति र स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र ओली पार्टी गतिविधिमा फर्कने छन्।

राखेपमा राजनीतिक नियुक्ति सखाप : २० जनामाथि चल्यो अध्यादेशको डण्डा

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का राजनीतिक नियुक्तिमा रहेका २० जना सदस्य पदमुक्त हुने भएका छन्। अघिल्लो सरकारका समयमा नियुक्त गरिएका ती सदस्यहरू नयाँ अध्यादेश लागू भएपछि स्वतः पदबाट हट्ने भएका हुन्।

तेजुलाल चौधरी र बब्लु गुप्ताले मन्त्रीको रूपमा कार्यरत रहँदा ती नियुक्तिहरू गरिएको थियो। वर्तमान सरकारले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३ अनुसार उनीहरूको पद स्वतः समाप्त हुने व्यवस्था गरिएको हो।

यसअघि राखेपका उपाध्यक्ष ध्रुव आचार्यले राजीनामा दिइसकेका छन्। हाल सदस्य सचिवको जिम्मेवारी कर्मचारी तहका रामचरित्र मेहताले सम्हालिरहेका छन्।

अध्यादेश लागू भएपछि राखेपको संरचना र नेतृत्वमा फेरबदल हुने निश्चित देखिएको छ।

प्रिमियर लिग उपाधि दौड : आर्सनल शीर्षस्थानमा दबाब कायम

काठमाडौं। इङ्लिस प्रिमियर लिगको उपाधि दौड यस सिजन अत्यन्तै रोमाञ्चक बनेको छ। पछिल्लो खेलमा फुलहमलाई ३–० ले पराजित गर्दै आर्सनलले म्यानचेस्टर सिटीसँगको दूरी ६ अंकमा पुर्‍याएको छ।

आर्सनल अब लिगका केवल तीन खेल बाँकी हुँदा शीर्षस्थानमा मजबुत देखिएको छ। उता पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीसँग पाँच खेल बाँकी रहे पनि दुई खेल कम खेलेको कारण उपाधि दौड अझै खुला रहेको छ। तर सिटीका लागि अब गल्ती गर्ने कुनै ठाउँ बाँकी नरहेको विश्लेषण गरिएको छ।

प्रिमियर लिग पाँच पटक जितिसकेका पूर्व खेलाडी वेन रुनीले आर्सनललाई यस पटक उपाधि जित्ने प्रमुख दाबेदार बताएका छन्। त्यस्तै, पूर्व गोलरक्षक जो हार्टले भने सिटी अझै पनि बलियो प्रतिस्पर्धी रहेको बताएका छन्।

यसअघि सिटीसँगको हारपछि आर्सनल २०९ दिनपछि शीर्षस्थानबाट झरेको थियो। तर पछिल्ला खेलमा न्यु क्यासल र फुलहमविरुद्ध लगातार जित निकाल्दै टोली पुनः बलियो लयमा फर्किएको छ।

टोलीले युरोपियन प्रतिस्पर्धामा पनि व्यस्त रहँदै राम्रो प्रदर्शन जारी राखेको छ। प्रशिक्षक मिकेल आर्टेटाले फुलहमविरुद्धको जितपछि टोलीको प्रदर्शनलाई ‘भोक र नियन्त्रणयुक्त खेल’ भन्दै प्रशंसा गरेका छन्।

आँकडाअनुसार आर्सनलको उपाधि जित्ने सम्भावना करिब ७९.७ प्रतिशत रहेको बताइएको छ।

अब आर्सनलका बाँकी खेलहरू वेस्ट ह्याम, बर्न्ली र क्रिस्टल प्यालेससँग छन्। उता म्यानचेस्टर सिटीले एभर्टन, ब्रेन्टफोर्ड, क्रिस्टल प्यालेस, बोर्नमाउथ र एस्टन भिल्लासँग खेल्नेछ।

पूर्व खेलाडीहरूले भने अन्तिम नतिजा अझै निश्चित नभएको बताउँदै सिटीले पनि कुनै पनि समयमा खेल पल्टाउन सक्ने सम्भावना कायम रहेको टिप्पणी गरेका छन्।

रामबहादुर बम्जनले पाए अदालतबाट सफाइ

काठमाडौं। जिल्ला अदालत सर्लाहीले रामबहादुर बम्जनलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सफाइ दिएको छ। रामबहादुर बम्जन लाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले वैशाख ८ गते सफाइ दिने फैसला गरेको हो।

उनीमाथि ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको थियो। अदालतको फैसलापछि उनी सर्लाही कारागारबाट रिहा भइसकेको प्रहरीले जनाएको छ।

बम्जनलाई यसअघि सम्पत्ति शुद्धीकरणको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएको थियो। पछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०८० पुस २४ गते उनलाई पक्राउ गरेको थियो।

पक्राउका क्रममा विभिन्न १७ देशका करिब ३० लाख ९२ हजार रुपैयाँ बराबरका विदेशी मुद्रा र करिब ३ करोड ३४ लाख रुपैयाँ नेपाली नगद बरामद गरिएको प्रहरीको दाबी छ।

यसैबीच, चर्चित गायक राजेश पायल राईले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बम्जनलाई झुटा मुद्दामा फसाइएको भन्दै टिप्पणी गरेका थिए। यद्यपि यो विषय विवादास्पद बनेको छ।

उता, बम्जनविरुद्ध रहेको बाल यौन दुरुपयोगसम्बन्धी अर्को मुद्दा भने सर्वोच्च अदालतमा अझै विचाराधीन रहेको जनाइएको छ।

हतियार बेच्दै अमेरिका

एजेन्सी। इरानमा जारी अमेरिका–इजरायल तनाव र पश्चिम एसियामा बढ्दो युद्ध परिस्थितिका बीच अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरूलाई करिब ८ अर्ब ६० करोड डलर बराबरको हतियार बिक्री स्वीकृत गरेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो निर्णयलाई आपतकालीन अवस्थाका रूपमा उल्लेख गर्दै अमेरिकी कंग्रेसको पूर्व समीक्षा प्रक्रिया बिना नै अघि बढाइएको जानकारी दिएका छन्।

फेब्रुअरी अन्त्यदेखि सुरु भएको भनिएको युद्धपछि इरानले इजरायल र खाडी क्षेत्रका देशहरूमा मिसाइल तथा ड्रोन आक्रमण बढाएको बताइन्छ। त्यसको प्रतिआक्रमणका कारण ती देशहरूको अमेरिकी हतियार भण्डार घट्दै गएको र हवाई रक्षा प्रणालीमाथि दबाब परेको उल्लेख छ।

यसै अवस्थालाई ध्यानमा राख्दै अमेरिका सरकारले सहयोगी राष्ट्रहरूको रक्षा क्षमता मजबुत बनाउन हतियार आपूर्ति तीव्र पारेको बताइएको छ।

सम्झौताअनुसार इजरायललाई करिब ९९ करोड २० लाख डलर बराबरको एडभान्स्ड प्रिसिजन किल वेपन सिस्टम प्रदान गरिनेछ।

त्यसैगरी, कुवेतले २ अर्ब ५० करोड डलरको ब्याटल कमान्ड सिस्टम खरिद गर्नेछ,जसले राडारमार्फत हवाई निगरानी क्षमता बढाउने अपेक्षा गरिएको छ। कुवेतले आफ्नो रक्षा समन्वय प्रणाली सुधार गर्ने लक्ष्य राखेको बताइन्छ।

कतारले करिब ५ अर्ब डलर खर्चेर एडभान्स्ड प्रिसिजन किल वेपन सिस्टम र प्याट्रिओट एयर डिफेन्स सिस्टम पुनः भण्डारण गर्नेछ भने संयुक्त अरब इमिरेट्सलाई १४ करोड ८० लाख डलर बराबरको सोही प्रणाली बिक्री स्वीकृत गरिएको छ।

अमेरिकी विदेश मन्त्रालयले यी सबै निर्णयलाई राष्ट्रिय सुरक्षा हितसँग जोड्दै आपतकालीन परिस्थितिमा गरिएको रणनीतिक कदमका रूपमा व्याख्या गरेको छ।

सामान्य प्रक्रियामा हुने कंग्रेस समीक्षा प्रणालीलाई पछाडि राखेर गरिएको यो निर्णयलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा समेत चासो बढेको बताइन्छ।

यसअघि पनि मार्च महिनामा अमेरिका ले यूएई, कुवेत र जोर्डनलाई करिब १६ अर्ब ५० करोड डलर बराबरको छुट्टै हतियार बिक्री स्वीकृत गरिसकेको थियो।