`

प्रधानमन्त्री र गृहमन्त्री सँगै निस्किए अनुगमनमा, बिचौलियालाई कडा कारबाहीको चेतावनी

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आकस्मिक निरीक्षण गरेका छन् । नागरिकलाई प्रदान गरिने सरकारी सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यसहित सोमबार अनुगमन गरिएको हो ।

निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले सेवाग्राहीका गुनासा प्रत्यक्ष सुन्दै कर्मचारीहरूलाई छिटोछरितो र झन्झटरहित रूपमा सेवा प्रवाह गर्न निर्देशन दिइन् । गृहमन्त्री अर्यालले प्रशासनको कामकारबाहीलाई थप पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै सेवाग्राहीलाई दुःख दिने विचौलियाविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको र त्यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गरिने चेतावनी दिए ।

पछिल्लो समय सरकारी कार्यालयमा सेवा लिन जाँदा सर्वसाधारणले लामो समय लाइनमा बस्नुपरेको र विचौलियाको बिगबिगी बढेको गुनासो व्यापक रूपमा उठ्दै आएको थियो । यस पृष्ठभूमिमा राज्यको उच्च तहबाटै भएको यो प्रत्यक्ष अनुगमनलाई सकारात्मक कदमका रूपमा हेरिएको छ । यस पहलले कर्मचारीतन्त्रमा सुधार आउने, ढिलासुस्तीको अन्त्य हुने र सर्वसाधारणले सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ ।

सञ्चालनमा आयो धरहराको नि:शुल्क पार्किङ

काठमाडौं। काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रको सवारी पार्किङ सञ्चालनमा आएको छ । २०८२ फागुन ९ गतेको मन्त्रिपरिषद् बैठकले सो पार्किङको जिम्मेवारी काठमाडौं महानगरलाई दिने निर्णय गरेको थियो र त्यसको भोलिपल्ट फागुन १० गतेदेखि नगर प्रहरी बलले व्यवस्थापन सम्हालेको हो ।

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले शुरुवाती चरणमा पार्किङ क्षेत्र पर्याप्त रूपमा व्यवस्थित नभएको बताए । जिम्मेवारी लिएपछि आवश्यक सुरक्षा तथा पूर्वाधार सुधार गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । पहिले अग्नि सुरक्षा उपकरणको अभाव रहेकाले तीन तलामा प्रत्येक तलामा १० थानका दरले ३० थान अग्निशामक यन्त्र जडान गरिएको छ । यसअघि नै ९ थान जडान भइसकेका थिए । सवारीको सुरक्षाका लागि सीसीटिभी क्यामेरा पनि जडान भएका छन् र थप क्यामेरा राख्ने तयारी भइरहेको उनले बताए ।

जोशीले भने, ‘मन्त्रिपरिषद्को २०८२ फागुन ९ गतेको निर्णयअनुसार फागुन १० गतेदेखि यहाँका पार्किङको व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले लिएको हो । शुरुका दिनमा यहाँ धेरै कुराहरु व्यवस्थित थिएनन्, हामीले जिम्मेवारी लिइसकेपछि बत्तीको व्यवस्थापन गर्यौँ । फायर एक्स्टिङ्विसर थिएन, प्रज्वलनशील पदार्थ हुनसक्ने ठाउँमा, सवारी साधन हुने ठाउँमा फायर एक्स्टिङ्विसरको आवश्यकता अपरिहार्य थियो । यो तीन वटा तलामा प्रत्येक तल्लामा १० थानको दरले ३० थान हामीले फायर एक्स्टिङ्विसर जडान गरेका छौँ । त्यो भन्दा पहिले ९ वटा गतवर्ष नै जडान गरिएका थिए । सीसीटिभी क्यामेराहरु भने पहिलेदेखि नै थिए तर अपुग छ, हामी थप गर्ने तयारीमा छौँ । आवश्यकताअनुसार अपुग भएका कुराहरु हामी थप गर्दै जानेछौँ ।’

धरहराको बेसमेन्ट पार्किङलाई बी–१, बी–२ र बी–३ गरी तीन भागमा विभाजन गरिएको छ । सबैभन्दा माथिल्लो तला बी–१ मा १२७ वटा चारपाङ्ग्रे सवारी साधन अट्ने क्षमता रहेको छ भने बी–२ मा करिब ७ सय मोटरसाइकल पार्किङ गर्न सकिन्छ । यी दुवै तला दैनिक भरिने गरेको प्रमुख जोशीले बताए ।

सबैभन्दा तल्लो तला बी–३ मा भने हावाको प्रवाहमा केही समस्या देखिएकाले सर्वसाधारणको पहुँच सहज छैन । त्यहाँ १३५ वटा चारपाङ्ग्रे सवारी साधन राख्न सकिने क्षमता रहेको छ र माथिल्ला तला भरिएको अवस्थामा अस्थायी रूपमा सो तला पनि सञ्चालनमा ल्याइने उनले जानकारी दिए । पार्किङ क्षेत्रमा अपाङ्गमैत्री स्थानको पनि व्यवस्था गरिएको छ ।

महानगरपालिकाले विशेषगरी वसन्तपुर, विशालबजार, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा र जमल क्षेत्रलाई लक्षित गर्दै यो पार्किङ सञ्चालनमा ल्याएको हो । ती क्षेत्रका फुटपाथ तथा सार्वजनिक सडकमा पार्किङ पूर्ण रूपमा निषेध गरिएको छ । महानगरभित्रका वडा नम्बर १ देखि ३२ सम्म सार्वजनिक सडक र पेटीमा सवारी साधन राख्न नपाइने भएको छ र नियम उल्लंघन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइएको महानगरले जनाएको छ ।

जोशीले भने, ‘यहाँ पार्किङको लागि बि १, बि २ र बि ३ भनेर नामाकरण गरिएको छ । बि १ भनेको सबैभन्दा माथिल्लो तला हो, त्यसमा ४ पाङ्ग्रे १२७ थानको क्षमता छ । त्यो दैनिक प्याक हुन्छ, दोस्रो तल्लालाई बि २ भन्छौ हामी । बि २ मा सात सय थान मोटरसाइकल राख्ने क्षमता छ, त्यो पनि दैनिक प्याक हुन्छ । बेसमेन्टको सबैभन्दा तल्लो तल्ला बि ३, त्यहाँ एयर सर्कुलेसनका केही समस्याहरु भएको कारण सबैको पहुँच त्यहाँ छैन । त्यसलाई पनि सञ्चालन गर्नको लागि हामीले माथि नपुगेको अवस्थामा अस्थायी रूपमा व्यवस्थापन गर्ने गरेका छौँ । त्यहाँ १३५ वटा चारपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिन्छ । आवश्यकताअनुसार ठाउँठाउँमा अपाङ्गमैत्री सवारीसाधनहरुको पनि व्यवस्थापन गर्ने गरिएको छ । अहिले महानगरपालिका यो शहर क्षेत्रभित्रका विशेषगरी वसन्तपुर, विशालबजार, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा, जमल क्षेत्रलाई लक्षित गरेर पार्किङ सञ्चालनमा ल्याएको हो । त्यो क्षेत्रमा हामीले पार्किङ निषेध गरेका छौँ, फुटपाथमा ।’

हाल धरहरा पार्किङ सेवा पूर्णरूपमा निःशुल्क रहेको छ । नगर प्रहरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खटिने गरेका छन् भने पार्किङ क्षेत्र बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सवारी भित्र्याउनका लागि खुला रहन्छ । सो समयपछि सवारी बाहिर निकाल्न मात्र अनुमति दिइने व्यवस्था छ ।

तथापि बिहान सवारी पार्किङ गरेर बेलुका मात्र निकाल्ने प्रवृत्ति बढेको प्रमुख जोशीले बताए । यसले अन्य सवारीको पहुँचमा असर पारेको उनको भनाइ छ । आगामी दिनमा यस समस्यालाई सुधार गर्दै थप प्रभावकारी व्यवस्थापन गरिने उनले जानकारी दिए ।

जोशीले भने, ‘हामीले निःशुल्क पार्किङको व्यवस्था गरेका छौँ, कुनै शुल्क लिएको छैन । नगर प्रहरी बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म तैनाथ हुन्छन् । आवश्यकताका आधारमा कहिलेकाहीँ सवारीसाधन लिन नआउने, अबेर आउँदाखेरी ९÷१० बजेसम्म पनि हामी पर्खिने गरेका छौँ । हाम्रो समय भनेको बिहान ८ बजे खुलेर बेलुका ५ बजे बन्द हुने हो । बेलुका ५ बजेपछि सवारी निकाल्ने मात्रै हो, पार्किङका लागि इन हुँदैन, एक्जिट मात्रै हो । यहाँको पार्किङको उद्देश्य मोबिलिटी गराइराख्ने हो तर हाल त्यस्तो देखिएको छैन । यो कुरालाई हामी आगामी दिनमा परिमार्जन गरेर लैजान्छौँ । अहिले बिहान आउने सवारी राख्ने र बेलुका निकालेर लैजाने धेरै देखिएको छ । त्यसले गर्दा सबैको पहुँचमा परेको छैन । यद्यपि यहाँ सवारीसाधन पार्किङ गर्न नपाएर फर्किनु परेको अवस्था छैन । हामीले व्यवस्थापन गरेका छौँ ।’

साथै सवारीसाधनको सुरक्षाको जिम्मेवारी सवारीधनी आफैँले लिनुपर्ने र अरुलाई असहज नहुनेगरी पार्किङ गर्न उनले आग्रह गरे ।

गृहमन्त्री अर्याललाई ईनिशाको परिवारको ज्ञापन पत्र, दोषीलाई कडा कारबाहीको माग

काठमाडौं।  ईनिशा वि.क. हत्या प्रकरणको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । परिवारकातर्फबाट ईनिशाका दाई चन्द्र बहादुर बि.क. र तपेन्द्र बि.क.ले सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरे ।

साथै महिला तथा बालबालिकामाथि हुने यौन हिंसा र जघन्य अपराधका घटना दोहोरिन नदिन तथा न्यायको सुनिश्चितता र सुरक्षित समाज निर्माणका लागि सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिन पीडित परिवारले माग गरेको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए । मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनै पनि प्रकारका आपराधिक घटना र अवान्छित गतिविधि नियन्त्रण गरी शान्तिसुव्यवस्था कायम गर्न सरकार जिम्मेवारीताका साथ लागिपरेको उनले बताए ।

गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर–४ सहिदपार्क नजिकै जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिका ईनिशा वि.क.को बलात्कारपछि हत्या भएको थियो ।

मिटरब्याज पीडकहरुमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं। मिटरब्याज पीडितहरूले सोमबार पनि काठमाडौंमा प्रदर्शन गरे । भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा नियन्त्रणमा लिइएका पीडकहरूलाई तत्काल कडा कारबाही गर्न सरकारसँग माग राख्दै उनीहरू सडकमा उत्रिएका हुन् ।

हाल सो परिसरमा शान्ति तिवारी, विनय टिवटेवालालगायतका मिटरब्याज पीडकहरू नियन्त्रणमा छन् । पीडित मञ्जु श्रेष्ठले लाखौं रुपैयाँ ठगी गर्ने यी पीडकहरूलाई कडा कारबाही गर्न आफूहरू प्रदर्शनमा आएको बताइन् ।

श्रेष्ठले भनिन्, ‘हामी यस्ता कुख्यात मिटरब्याजीहरूलाई निर्मूल पार्नुपर्छ । यिनलाई हदैसम्म कारबाही गर्नुपर्छ । यस्ताहरूलाई समाजबाट तिरस्कार गर्नुपर्दछ भन्ने अभियानमा हामी लागेका छौं । हामी यहाँ ५ सय जनाभन्दा बढी पीडित छौं । तर, ४५ जनाले उजुरी दर्ता गरेका छौँ ।’

अर्की पीडित सुनिता चापागाईँ खतिवडाले पीडकहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाले कडा कारबाहीका लागि दबाब दिन आफूहरू यहाँ आएको बताइन् । नेपालमा ठगीको शिकार हुनेहरूको संख्या बढ्दो रहेकाले त्यस्ता अपराधीलाई सरकारले उन्मुक्ति दिन नहुने भन्दै उनले आक्रोश व्यक्त गरिन् ।

खतिवडाले भनिन्, ‘एक लाखभन्दा बढी मानिस मिटरब्याज पीडित, भूमिहीन र अनुचित लेनदेनमा परेका छन् । हामी यहाँ मिटरब्याज पीडितले उनीहरूविरुद्ध उजुरी दिएका थियौं । ठगहरूलाई नियन्त्रणमा लिने काम गरेकोमा नेपाल सरकार, नेपाल प्रहरी, जिल्ला अदालत काठमाडौंलगायतलाई हामी धन्यवाद समेत दिन चाहन्छौँ ।’

पीडितहरूले प्रहरी, अदालत र सरकारलाई पीडकहरू नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया शुरु गरेकोमा धन्यवाद दिएका छन् । केही वर्षयता मिटरब्याज पीडितहरू न्यायको माग गर्दै लगातार आन्दोलनमा रहँदै आएका छन् ।

प्रधानमन्त्री बन्न लागेका ‘बालेन’लाई खुला पत्र

श्री बालेन्द्र शाह ‘बालेन’

भावी प्रधानमन्त्री

यो पत्र एक व्यक्तिको मात्र आवाज होइन!

यो पत्र देशका लाखौँ नेपालीहरूको आशा, पीडा, संघर्ष र सपनाको आवाज हो। हिमाल, पहाड र तराईसँगै सात प्रदेशको सुन्दरता बोकेको हाम्रो नेपाल प्राकृतिक स्रोत, संस्कृति र विविधताले समृद्ध भए पनि विडम्बना यहाँ अधिकांश नागरिकले अझै संविधानले ग्यारेन्टी गरेको मौलिक हक, आधारभूत अधिकार, समान अवसर र सम्मानित जीवनको खोजीमा संघर्ष गरिरहेका छन्। अझ प्रष्ट भन्नु पर्दा, मान्छे हुनका लागि मात्र बाँचिरहेका छन्।

लोकतन्त्रका लागि धेरै संघर्षहरू भए, जनताले परिवर्तनका लागि धेरै बलिदान दिए। नेपालको संविधानले समानुपातिक समावेशिता, समानता र सामाजिक न्यायको ग्यारेन्टी गरे पनि समाजका दलित समुदाय, महिला, सीमान्तकृत समुदाय, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक वर्ग, युवा, अपाङ्गता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका नागरिक आज पनि राज्यबाट पाउनुपर्ने सेवा र अवसरबाट वञ्चित छन्। यो कुरा हामी सबैलाई अवगत नै छ।

आम नागरिक अझै विभिन्न चुनौती र असुरक्षित जीवनसँग जुध्न बाध्य छन्। प्राकृतिक विपत्ति, महामारी तथा विभिन्न आन्दोलनका प्रभावहरूले जनताको जीवनस्तरमा ठूलो धक्का पुगेको छ। त्यसैले संवेदनशील र दीर्घकालीन रणनीति तथा योजनामार्फत नागरिकलाई सुरक्षित, समावेशी र समृद्ध बनाउने प्रयास गर्नु आजको प्रमुख आवश्यकता देखिन्छ।

 

विशेषगरी जेन-जी आन्दोलन पश्चात नेपाली जनताले केही परिवर्तन महसुस गरेका छन्। आन्दोलनपछि देशको हावा नै फरक छ। सडकहरू शान्त देखिए पनि मृतकका आत्माहरूले परिवर्तनको सपना र न्यायको खोजी भने गरिरहेका छन्। त्यो आन्दोलन केवल नारा र भीडको कथा मात्र होइन, केही अधुरा सपनाहरूको कथा पनि हो। ती युवाहरूको कथा, जसले परिवर्तनको आशामा आफ्नो ज्यान गुमाए। उनीहरूका परिवारको पीडा, आमाबाबुको आँसु र साथीहरूको सम्झना अझै ताजा छन्। झन् अपाङ्गता भएका व्यक्तिहरूको व्यथा छुट्टै छ। उनीहरूले दिएको बलिदानले साँच्चै देशमा परिवर्तन ल्याउन सकिन्छ त? यो प्रश्नलाई विशेष ध्यानमा राख्नु होला। बलिदानको अर्थ के थियो? त्यसको अर्थ तपाईंले गर्ने हरेक निर्णय र कामले बताउनेछ।

आम नागरिक अझै विभिन्न चुनौती र असुरक्षित जीवनसँग जुध्न बाध्य छन्। प्राकृतिक विपत्ति, महामारी तथा विभिन्न आन्दोलनका प्रभावहरूले जनताको जीवनस्तरमा ठूलो धक्का पुगेको छ। त्यसैले संवेदनशील र दीर्घकालीन रणनीति तथा योजनामार्फत नागरिकलाई सुरक्षित, समावेशी र समृद्ध बनाउने प्रयास गर्नु आजको प्रमुख आवश्यकता देखिन्छ।

अबको नेतृत्वको सरकारबाट हामीले धेरै अपेक्षाहरू राखेका छौँ। देशको दीर्घकालीन राष्ट्रनिर्माणका लागि बलियो आधार तयार गर्ने नीति तथा कार्यक्रमहरू निर्माण गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ। विशेषगरी शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत र संवेदनशील विषयहरूलाई उच्च प्राथमिकतामा राखेर प्रभावकारी कार्यान्वयनमा ध्यानाकर्षण गर्न आवश्यक छ।

शिक्षा राष्ट्रको भविष्य सुनिश्चित गर्ने सबैभन्दा शक्तिशाली माध्यम हो। शिक्षित नागरिकले आफ्नो व्यक्तिगत जीवनलाई मात्र होइन, समाज र राष्ट्रको समग्र विकास तथा समृद्धिमा पनि महत्वपूर्ण योगदान पु¥याउँछन्। शिक्षा मार्फत व्यक्तिमा चेतना, ज्ञान र सामाजिक उत्तरदायित्वको विकास हुन्छ। यस्ता गुणहरूले लोकतान्त्रिक समाजमा समानता, न्याय र समावेशितालाई बलियो बनाउन महत्वपूर्ण सहयोग पुर्‍याउँछन्।

त्यसैले बहुआयामिक, विविधतापूर्ण र चुनौतीपूर्ण भूगोल भएको देशमा शिक्षा केवल शहर र सम्पन्न वर्गको हितमा मात्र सीमित हुनु हुँदैन। दुर्गम गाउँका बालबालिका, दलित, महिला र अपाङ्गता भएका व्यक्तिहरू पनि यसको पहुँचमा हुनुपर्छ। जबसम्म शिक्षा सबैका लागि समान रूपमा पहुँचयोग्य हुँदैन, तबसम्म राष्ट्रले वास्तविक रूपमा समृद्धि र सामाजिक न्यायको अनुभूति गर्न सक्दैन। त्यसकारण शिक्षा क्षेत्रमा केही परिवर्तनसँगै शिक्षा सबैका लागि समान बनाउनु आवश्यक छ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा पहुँचको व्यवस्था गरेको छ, तर आज पनि नागरिकहरूले मौलिक हकका रूपमा स्थापित गुणस्तरीय स्वास्थ्य सेवाका लागि छुट्टै संघर्ष गर्नुपर्ने बाध्यता छ। मैले कर्णाली प्रदेशका केही जिल्लाहरू भ्रमण गर्दा त्यहाँका नागरिकहरूको पीडा वास्तवमै फरक र दुखदायी छ।

हुम्लामा जन्डिसबाट पीडित पाँच वर्षका बालकलाई उपचारका लागि आमा र हजुरआमाले १८ घण्टासम्म कठिन बाटो हिँडेर अस्पताल पुर्‍याउनु परेको दृश्यले मन भारी भएको थियो। हामीले प्रायः सुनेका नै छौँ-सुदूरपश्चिम, कर्णाली तथा अन्य दुर्गम क्षेत्रहरूमा आज पनि सुत्केरी महिलाहरूले समयमा उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको, उपचार नपाएर मृत्यु भएको, महिनावारी स्वच्छताको अभावका कारण धेरै महिला तथा किशोरीहरूको प्रजनन स्वास्थ्य विभिन्न रोगसँग जुधिरहेको अवस्था हाम्रो आँखा अगाडि छ।

यथार्थ के छ भने काठमाडौँमा निर्माण गरिएका भ्यू टावर वा आधुनिक संरचनाले सुदूरपश्चिम, कर्णाली वा मधेश प्रदेशका नागरिकहरूले भोगिरहेका यस्ता जटिल यथार्थलाई पक्कै पनि प्रतिबिम्बित गर्न सक्दैनन्। त्यसैले तपाईंको नेतृत्वको सरकारले भ्यू टावर वा आधुनिक संरचनामा मात्र ध्यान केन्द्रित नगरी शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि जस्ता संवेदनशील विषयहरू तथा संविधानले सुनिश्चित गरेका मौलिक हकहरूको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनेछ भन्नेमा म लगायत आम नेपाली नागरिकहरू आशावादी छौँ।

हाम्रो देश कृषि प्रधान देश हो। आज पनि देशका अधिकांश परिवार कृषिमा निर्भर छन् र उनीहरूको आम्दानीको प्रमुख स्रोत कृषि नै हो। नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एउटा महत्वपूर्ण माध्यमका रूपमा कृषिलाई लिइन्छ। तर अहिले हाम्रो देशका किसानहरूको अवस्था नाजुक छ। जलवायु परिवर्तनका कारण सबैभन्दा बढी मारमा किसान नै परेका छन्।

खाद्यान्नको आयात लगातार बढ्दो छ, उर्वर खेतबारी बाँझै छन्, जसले ग्रामीण अर्थतन्त्रलाई कमजोर बनाउनुका साथै उत्पादनको न्यून मूल्य र आधारभूत संरचनाको अभावले ग्रामीण क्षेत्र मात्र नभई सहरलाई पनि असर पारेको छ। जिम्मेवारी तहमा हुने निर्णयले केवल मन्त्रालयको स्तरमा होइन, सम्पूर्ण ग्रामीण अर्थतन्त्र, देशको खाद्य सुरक्षा, रोजगार तथा दीर्घकालीन आत्मनिर्भरतामा प्रत्यक्ष असर पार्छ।

आशा छ, नेपालको विकसित अर्थतन्त्रको आधार मानिने कृषि क्षेत्रलाई तपाईंको नेतृत्वको सरकारले प्राथमिकताका साथ सम्बोधन गर्नेछ र यसका लागि बलियो ऐन तथा नीतिगत व्यवस्था गर्नेछ।

नेपालमा लामो समयदेखि रहेको भ्रष्टाचार र दण्डहीनतालाई अन्त्य गर्न नयाँ सरकारले पारदर्शिता, जवाफदेहिता र विधिको शासनलाई बलियो बनाउँदै ठूला भ्रष्टाचारहरूको निष्पक्ष छानबिन, सार्वजनिक संस्थाहरूको सुधार तथा प्रभावकारी अनुगमन प्रणाली स्थापना गर्नु अत्यन्त आवश्यक छ।

साथै संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच अधिकार, स्रोत र जिम्मेवारीको स्पष्ट कार्यान्वयन, प्रशासनिक सुधार, दक्ष कर्मचारीतन्त्र र सेवा प्रवाहलाई छिटो तथा पारदर्शी बनाउनु जरुरी छ।

आशा छ, अब बन्ने नयाँ सरकारले अहिलेसम्म उचित रूपमा समाधान हुन नसकेका संवेदनशील विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्नेछ। निर्मला पन्त, माया विक, अजित मिजार, नवराज विक र इनिसा विकका हत्याका घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउने जस्ता गम्भीर मुद्दाहरूको निष्पक्ष छानबिन गरी कसैलाई पनि उन्मुक्ति नदिई कारबाहीको दायरामा ल्याउने प्रभावकारी संयन्त्र निर्माण हुनेछ।

यो निर्वाचनबाट युवा पुस्ताले नेपाल सरकारको बागडोर समाल्ने समय आएको छ। अहिले नागरिकले नयाँ आउने सरकारसँग धेरै अपेक्षाहरू राखेका छन्, जुन अपेक्षाहरू समयअनुसार कार्यान्वयन हुनेछन् भन्ने विश्वास छ।

यो पत्र परिवर्तनको प्रतीक्षामा रहेका लाखौँ नेपाली नागरिकहरूको साझा अपेक्षा र आवाज हो। नागरिकहरूले नेतृत्वबाट केवल सरकार सञ्चालन मात्र होइन, विश्वास पुनःस्थापना गर्ने राजनीतिक संस्कारको अपेक्षा गरेका छन्। लोकतन्त्रको वास्तविक अर्थ जनताको जीवनमा देखिने न्याय, समान अवसर, सुशासन र सम्मानित जीवन हो।

त्यसैले आगामी दिनहरूमा लिइने प्रत्येक निर्णय, बनाइने प्रत्येक नीति र सुरु गरिने प्रत्येक कार्यक्रमले नागरिकको दैनिक जीवनलाई सकारात्मक रूपमा छुने गरी अगाडि बढोस्। शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, रोजगारी, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर अघि बढ्न सकियो भने मात्र नागरिकले राज्यप्रति भरोसा पुनः महसुस गर्नेछन्।

इतिहासले कहिलेकाहीँ दुर्लभ अवसर दिन्छ। आज त्यस्तै अवसर तपाईंको हातमा आएको छ। यदि यो अवसरलाई दूरदृष्टि, इमानदारी, उत्तरदायित्व र समावेशी दृष्टिकोणका साथ प्रयोग गर्न सकियो भने नेपालले नयाँ राजनीतिक संस्कार, दिगो विकास र समृद्धिको दिशामा ठोस पाइला चाल्न सक्छ।

यो सुनौलो अवसर तपाईंको हातमा छ। सम्पूर्ण नेपाली नागरिकले आफ्नो आशा, भरोसा र भविष्य मतमार्फत तपाईंलाई सुम्पिएका छन्। यस पत्रको उत्तर शब्दमा होइन, काममार्फत देख्न पाऊँ।

हामी नागरिकहरू आशा गर्छौँ—तपाईंको नेतृत्वले निराशालाई आशामा, अविश्वासलाई विश्वासमा र विभाजनलाई सहकार्यमा रूपान्तरण गर्दै लोकतान्त्रिक मूल्य र संविधानको भावनालाई व्यवहारमा उतार्नेछ।

यही विश्वास र अपेक्षासहित यो खुला पत्र समर्पित गर्दछु।

सुनिता परियार

चुनावी सरकारले सुशासनको धज्जी उडाएको प्रभू शाहको आरोप, दुवै निर्णय फिर्ता गर्न माग

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारका दुई विवादास्पद निर्णयको कडा आलोचना गर्दै ती निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

राष्ट्रिय सभामा ओमप्रकाश अर्यालको नाम सिफारिस गर्ने र आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णयलाई उनले सुशासनविरुद्धको कदम भनी निन्दा गरेका छन्। जेनजी विद्रोहको पृष्ठभूमिमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो विदाइको बेलामा आसेपासेलाई राज्यका महत्त्वपूर्ण पदमा नियुक्त गर्नु अनुचित रहेको उनको भनाइ छ।

सामाजिक सञ्जालमा अध्यक्ष साहले लेखे, ‘निर्वाचन गराउने प्रधान दायित्व बोकेको सरकारले निर्वाचन सम्पन्न गरेर अब बहिर्गमनको बेलामा भने जेनजी विद्रोहको मूल मर्ममाथि नै प्रहार हुने गरि सुशासनलाई धज्जी उडाउँदै आफ्ना आसेपासेलाई राजनीतिक नियुक्ति दिलाउनु निन्दनीय छ । निर्वाचन गराउने जिम्मेवारी पाएका गृहमन्त्री ओमप्रकाश अर्याल सत्ताबाहिर बस्न नचाहेर आफूसम्मिलित मन्त्रिपरिषद्‍बाट राष्ट्रिय सभामा मनोनित हुन सिफारिस हुनु पनि अर्को लाजको विषय हो ।’

प्रधानमन्त्री कार्कीले आफ्नै पीए आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णयलाई पनि साहले पारदर्शिताको उपहास भनी आलोचना गरे।

यसका साथै उनले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग राखेका छन्। उनले थपे, ‘सरकार प्रमुख त्यो प्रतिवेदन सार्वजनिक गर्नुको साटो आफ्ना आसेपासेलाई राज्यका निकायमा भर्ती गर्न व्यस्त हुनु लज्जाको विषय हो । सुशीला कार्कीलाई यी दुवै निर्णय फिर्ता लिन र तत्काल जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक आग्रह गर्दछु ।’

सिके राउतले लिए संसदीय राजनीतिबाट सन्यास

जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने निर्णय सार्वजनिक गरेका छन्। तथापि, जनताको पक्षमा संघर्षको राजनीति भने जारी राख्ने उनले स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमा आफ्नो अवस्था खुलाउँदै राउतले लेखेका छन्: संसदीय पदको दौडधूपबाट आफू टाढा रहने भए पनि राजनीतिबाट पूर्णतः अलग नभई आफ्नो सिद्धान्त र एजेन्डालाई अगाडि बढाउँदै जनतासँगै रहने प्रतिबद्धता उनको छ।

२०७९ सालको निर्वाचनमा जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएको थियो र राउत आफैं प्रत्यक्ष निर्वाचनमा विजयी भएका थिए। तर हालै सम्पन्न २०८२ फागुन २१ को निर्वाचनमा पार्टीले एक सिट पनि जित्न सकेन। सप्तरी २ बाट उठेका राउत रास्वपाका रामजी यादवसँग पराजित भए भने समानुपातिकतर्फ पनि थ्रेसहोल्ड नकाटिएकाले पार्टी पूर्णतः खाली हात रह्यो।

यस पराजयपछि पनि राउतले पार्टी छाड्ने संकेत दिएका छैनन्। जनमत पार्टीलाई आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि तयार पार्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यकता रहेसम्म नेतृत्व दिइरहने उनले बताए।

उल्लेखनीय छ, राउतले पार्टीको अध्यक्ष पद र संसदीय निर्वाचन दुवै आफ्नो व्यक्तिगत इच्छाविपरीत अरुको आग्रहमा स्वीकार गरेको दाबी गर्दै आएका छन्।

नेकपाले सिफारिस गर्‍यो नौ समानुपातिक सांसद

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने नौ जनाको नाम सिफारिस गरेको छ ।

फागुन २१मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ सात दशमलव चार प्रतिशत मत ल्याएको नेकपाले नौ सिट पाएको थियो ।

उक्त नौ सिटका लागि खसआर्य समूहबाट प्रमेश हमाल, प्रेम बयक र बलावती शर्मालाई सिफारिस गरेको छ । बयकले अपाङ्गता भएका व्यक्तिहरूको समेत प्रतिनिधित्व गर्छन् । यस्तै, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा तथा मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव सिफारिस भए ।  दलित समूहबाट पार्वती विक र गणेश विश्वकर्मा सिफारिस हुँदा थारु समूहबाट निराशा चौधरी डगौरालाई सांसद बनाउन सिफारिस गरिएको छ ।

कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न सरकारले छुट्टै समिति बनाउने

काठमाडौं । सरकारले जेन-जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अध्ययन गर्न छुट्टै समिति बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन ग्रहण गर्दै त्यसको अध्ययनका लागि छुट्टै आयोग बनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले यो जानकारी दिए ।

‘२०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्नेगरी नेपाल सरकार मन्त्रिपरिषद्ले ग्रहण गर्ने,’ अर्यालले भने ।

उल्लेखनीय छ, गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा घटेका घटनाबारे जाँचबुझ गर्न सरकारले कार्की नेतृत्वमा आयोग गठन गरेको थियो । सो आयोगले तयार पारेको प्रतिवेदनबारे मन्त्रिपरिषद्मा आइतबार विस्तृत छलफल भएको थियो, र अन्ततः प्रतिवेदन ग्रहण गर्दै थप अध्ययनका लागि नयाँ समिति बनाउने निर्णयमा पुगेको हो ।

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीलेजानकारी दिए ।

राष्ट्रपतिले मनाेनीत गर्ने एक सिटका लागि सरकारले सिफारिस गरेर पठाउनुपर्ने हुन्छ ।

राष्ट्रियसभाको एक सिटका लागि राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच प्रतिस्पर्धा चलेको विवरणहरू आएका थिए । प्रधानमन्त्रीको रोजाइमा अर्याल थिए भने राष्ट्रपतिले अरु कुनै व्यक्तिलाई बनाउन चाहेका थिए ।

अन्तत: प्रधानमन्त्री कार्कीकै चाहनामा गृहमन्त्री अर्यालको नाम सिफारिस भएको हो । अब राष्ट्रपतिले अर्याललाई मनोनीत गर्नुपर्ने हुन्छ ।

रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय सदर कि बदर हाेला ? (भिडियाे)

काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने कदम चालेपछि त्यसविरुद्ध परेको रिटको आज सुनुवाइ हुँदैछ ।

प्रधानमन्त्रीको कानुनी सल्लाहकार महान्यायाधिवक्ता सविता भण्डारीले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन आरोपपत्र संशोधन गर्ने निर्णय गरेपछि उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा तीनवटा रिट निवेदन परेको थियो ।

रिटको सुनुवाइको लागि शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । पेसी सूचीको पहिलो, दोस्रो र तेस्रोमा क्रमशः ती रिटहरूको सुनुवाई तोकिएको हो । त्यसो हुँदा आज सुनुवाई हुने सम्भावना देखिएको छ ।

विपक्षीहरूको लिखित जवाफसमेत परिसकेको वा लिखित जवाफ पर्ने म्याद नाघिसकेको र रिट निवेदनमा उठाइएको विषयवस्तु तत्काल किनारा लाग्नुपर्ने प्रकृतिको देखिएको भन्दै हेर्न नहुनेबाहेक पेसी स्थगित नहुने गरी पूर्ण सुनुवाइका लागि पेसी तोक्न आदेश यसअघि नै भइसकेको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते सभापति लामिछानेमाथि अदालतमा विचाराधीन अवस्थामा रहेको सहकारी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनसहित फिर्ता लिने निर्णय गरेकी थिइन् ।

सुशासन कायम गर्ने, विधिको शासन स्थापित गर्ने र भ्रष्टाचार न्यूनीकरण गर्ने जेन–जी विद्रोहको जनादेशविपरीत प्रधानमन्त्री सुशीला कार्कीको इशारामा महान्यायाधिवक्ता भण्डारीले मुद्दा फिर्ता लिन आरोपपत्र संशोधनको निर्णय लिएको टिप्पणी भइरहेको छ ।

यस्तो निर्णय हुँदै गर्दा थुनामा रहेका लामिछानेको रिहा भएको थियो । उनी चितवन–२ बाट फराकिलो मतान्तरसहित निर्वाचित भएर तेस्रोपटक प्रतिनिधिसभा आइसकेका छन् । भलै उनी यतिबेला बिरामी छन् । गोडाको घाउ बल्झिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।

यहीबेला उनको मुद्दा फिर्ताको निर्णयविरुद्धको मुद्दामा सुनुवाइ हुने भएको हो । रिट निवेदकहरू वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफलसहितका कानुन व्यवसायी हुन् ।

सहकारी ठगीको मुद्दासँगै लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा काठमाडौं, कास्की, रुपन्देही र बारामा छ । यी दुई मुद्दाका कारण रवि सांसद निर्वाचित भए पनि उनी निलम्बन हुने चर्चा पनि भइरहेको छ ।

गृहमन्त्रीसँग इनिसा विककाे बलात्कारपछि मृत्यु प्रकरणमा निष्पक्ष अनुसन्धानकाे माग

काठमाडौँ। नेपाल दलित मुक्ति मोर्चाले इनिसा विककाे बलात्कारपछि मृत्यु प्रकरणमा निष्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसमक्ष माग गरेको छ ।

सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिन माग गरेको हो ।

मोर्चाले पीडित परिवारलाईउचित क्षतिपुर्तिको लागि माग गरेको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए ।

उनले देशमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनै पनि प्रकारका आपराधिक घटना र अवान्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय गर्न सरकार जिम्मेवारीपूर्वक लागि परेको बताए ।

सुर्खेतको गुर्भाकोट नपा.-६ स्थायी घर भई हाल वीरेन्द्रनगर–१ म बसोवास गर्दै स्थानीय उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीय बालिका इनिसाकाे बलात्कारपछि मृत्यु भएकाे थियाे ।

 

प्रधानमन्त्री कार्कीले पितृशाेकमा परेका एमाले अध्यक्ष ओलीलाई दिइन् समवेदना (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गरेकी छन् ।

आइतबार पति दुर्गाराज सुवेदीका साथ गएकी प्रधानमन्त्री कार्कीले भक्तपुरको गुन्डुस्थित ओली निवास पुगेर समवेदना प्रकट गरेकी हुन् ।

ओलीका पिता मोहनप्रसादको शुक्रबार निधन भएको हो ।

यसैबीच आजै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि ओली निवास पुगेर समवेदना प्रकट गरिन् ।

 

 

 

 

तेलपछि ‘पानी युद्ध’ : कति भयानक ? (भिडियाे)

लामो समयदेखि तेल र ग्यासका कारण विश्वको ध्यान केन्द्रित हुँदै आएको मध्यपूर्वमा अब अर्को संवेदनशील विषय पनि तीव्र रूपमा उठ्न थालेको छ—पानी। प्राकृतिक स्रोत घट्दै जाँदा भविष्यमा युद्धहरू तेलका कारण मात्रै नभई पानीका कारण पनि चर्किन सक्ने चेतावनी विश्लेषकहरूले दिन थालेका छन्।

इरान, अमेरिका र इजरेलबीच चर्किएको तनावसँगै खाडी क्षेत्रमा युद्धको दायरा विस्तार हुने संकेत देखिएका बेला कतिपय विज्ञहरूले अर्को सम्भावित जोखिमतर्फ ध्यान खिचेका छन्। त्यो हो, पानीको अभाव र त्यससँग जोडिएको पूर्वाधारको सुरक्षा।

खाडी क्षेत्रमा विश्वको जम्मा करिब २ प्रतिशत मात्रै ताजा पानीको स्रोत उपलब्ध छ। त्यसैले यहाँका धेरै देशहरूले समुद्रको पानीलाई प्रशोधन गरेर पिउन योग्य बनाउने डीस्यालिनेशन प्रविधिमा ठूलो निर्भरता राखेका छन्।

फ्रान्सको इन्टरनेशनल रिलेशन्स इन्स्टिट्यूटका अनुसार कुवेतमा प्रयोग हुने करिब ९० प्रतिशत पानी समुद्री पानी प्रशोधन गरेर तयार गरिन्छ। ओमानमा यो अनुपात ८६ प्रतिशत, साउदी अरबमा ७० प्रतिशत र संयुक्त अरब इमिरेट्समा ४२ प्रतिशत रहेको छ।

सन् २०२१ मा खाडी राष्ट्रहरूमा रहेका डीस्यालिनेशन प्लान्टहरूले दैनिक करिब दुई करोड घनमिटर पानी उत्पादन गरेका थिए। यो परिमाण करिब ८ हजार वटा पौडी पोखरी भर्न पुग्ने पानी बराबर हो।

तर पानीको यही निर्भरता अहिले सुरक्षा जोखिममा बदलिन थालेको छ। युद्धको प्रभाव बढ्दै जाँदा यी पानी प्रशोधन केन्द्रहरू सम्भावित निशाना बन्न सक्ने चिन्ता बढेको छ।

स्ट्रेट अफ होर्मुज क्षेत्रमा रहेको एउटा पानी प्रशोधन केन्द्र अमेरिकी आक्रमणका कारण क्षतिग्रस्त भएको दाबी इरानले यसअघि नै गरिसकेको छ। त्यस्तै इरानमाथि पनि खाडी क्षेत्रका डीस्यालिनेशन प्लान्ट नजिक आक्रमण गरेको आरोप लाग्दै आएको छ।

दुबईको जेबल अली बन्दरगाहमा भएको आक्रमण विश्वकै ठूलो डीस्यालिनेशन केन्द्रमध्ये एकको नजिक भएको बताइन्छ। त्यस्तै कुवेतको दोहा वेस्ट प्लान्ट नजिकको बन्दरगाहमा भएको आक्रमणका भग्नावशेषले पानी प्रशोधन केन्द्रलाई असर पुगेको विवरण पनि सार्वजनिक भएको छ।

यस्ता घटनाले खाडी क्षेत्रको जल पूर्वाधार कति संवेदनशील अवस्थामा रहेको छ भन्ने देखाउँछ। विशेषज्ञहरूका अनुसार यी केन्द्रहरूमा क्षति पुगेमा केही देशहरूमा तत्कालै खानेपानी संकट उत्पन्न हुन सक्छ।

यता इरान स्वयं पनि गम्भीर जल संकटको सामना गरिरहेको देश हो। न्यून वर्षा, पुराना जल संरचना, अव्यवस्थित जल व्यवस्थापन र जमिनमुनिको पानीको अत्यधिक दोहनका कारण त्यहाँ पानीको अभाव चर्किएको छ।

राजधानी तेहरानमा भविष्यमा पानीको हदबन्दी लागू गर्नुपर्ने वा मानिसहरूलाई अन्य क्षेत्रमा सार्नुपर्ने अवस्था आउन सक्ने चेतावनी सरकारी अधिकारीहरूले दिएका छन्।

पानीको अभावले इरानभित्र सामाजिक असन्तुष्टि पनि बढाएको छ। इस्फाहान लगायतका क्षेत्रमा पानी अभाव, महँगी र राजनीतिक असन्तुष्टि मिसिएर विरोध प्रदर्शनसमेत भएका थिए।

जल संकटले क्षेत्रीय विवादलाई पनि थप जटिल बनाएको छ। इरानको अफगानिस्तानसँग हेल्मन्ड नदीको पानी बाँडफाँट, टर्कीसँग टाइग्रिस र युफ्रेटिस नदीका बाँध, र इराकसँग साझा जलमार्गका विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ।

विश्लेषकहरूका अनुसार मध्यपूर्वको भू–राजनीतिमा अब वातावरणीय दबाब पनि महत्त्वपूर्ण कारक बन्न थालेको छ। तेल र ग्यासका स्रोतसँगै पानीको अभावले भविष्यका द्वन्द्वहरू झनै जटिल बन्न सक्ने संकेत देखिएको छ।

त्यसैले कतिपय विशेषज्ञहरूले चेतावनी दिएका छन्—भविष्यका युद्धहरू पाइपलाइन र तेल ट्याङ्करका कारण मात्रै होइन, नदी, बाँध र डीस्यालिनेशन प्लान्टका कारण पनि हुन सक्छन्।

मध्यपूर्वमा तेलपछि अब पानी अर्को संवेदनशील रणनीतिक स्रोत बन्दै गएको छ। अहिलेको युद्ध समाप्त भए पनि जल संकटले क्षेत्रीय राजनीति र सुरक्षा अवस्थालाई अझै लामो समय प्रभावित गर्ने देखिन्छ।

जतिसुकै समय लागे पनि अमेरिका-इजरायल आक्रमणविरुद्ध लड्ने इरानकाे घाेषणा

इरानको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिका र इजरायली आक्रमणविरुद्ध जतिसुकै समय लागे पनि आफ्नो रक्षा गर्ने बताएका छन् ।

फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले तेहरान र अन्य धेरै इरानी सहरहरूमा संयुक्त आक्रमण गरेका थिए ।

यसको जवाफमा इरानले मध्यपूर्वमा रहेका इजरायल र अमेरिकी आधार शिविर तथा सम्पत्तिहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिरहेकाे छ ।

इरानको आणविक कार्यक्रमलाई सन्दर्भ गर्दै बघाईले अमेरिका र इजरायली पक्षहरूलाई देशको आणविक गतिविधिहरू पूर्ण रूपमा शान्तिपूर्ण छन् भन्ने राम्ररी थाहा रहेको बताए ।

बघाईले इरानले फारसको खाडी क्षेत्रका कुनै पनि राज्यप्रति कुनै दुश्मनी नराख्ने स्पष्ट पारे ।

बालेन्द्र शाह बन्दै रास्वपा संसदीय दलको नेता (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता आजै घोषणा गर्ने भएको छ ।

वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता घोषणा गर्ने भएको सांसद गणेश पराजुलीले बताए ।

गत पुसमा रास्वपा सभापति रवि लामिछाने र बालेनबीच बालेन संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमति भएको थियो ।

सोहीअनुसार बालेनलाई प्रधानमन्त्री हुनुअघि संसदीय दलको नेता चयन गरेर घोषणा गरिने भएको हो ।

मधेसी समुदायबाट प्रधानमन्त्री बन्ने पहिलो नेता बालेन बन्दै छन् । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी भावी प्रधानमन्त्रीको प्रस्तावित उम्मेदवार बन्दा रास्वपाले दुई तिहाइ नजिकको बहुमत प्राप्त गरेको छ ।

सहज बहुमत हुनाले बालेन नेतृत्वमा रास्वपाको एकल सरकार गठन हुने भएको छ ।

यहीबीच रास्वपा सभापति लामिछाने स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

यहीबीच रास्वपा सभापति लामिछाने स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

 

वाणिज्य बैंकहरुले घटाए ब्याजदर, चैतमा कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर फागुन महिनामा ४ दशमलव ५६ प्रतिशत रहेकोमा चैतमा घटाएर ४ दशमलव ४९ प्रतिशतमा झारेका छन् ।

यसरी औसत ब्याजदर ० दशमलव ७ प्रतिशत बिन्दुले घटेको हो । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन् ।

संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि चैतमा ० दशमलव ३ प्रतिशत बिन्दुले घटेको छ ।चैत महिनाका लागि सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक नेपाल बैंक लिमिटेड रहेको छ ।

यस बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ० दशमलव ६ प्रतिशत बिन्दुले घटाएको हो । त्यस्तै कृषि विकास बैंक लिमिटेड, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, कुमारी बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडले पनि चैत महिनाका लागि ब्याजदर घटाएका छन् ।

चैत महिनाका लागि कृषि विकास बैंकले व्यक्तिगत मुद्दतिको ब्याजदर ४.१५ प्रतिशत कायम गरेको छ । फागुन महिनामा यस्तो मुद्दतिको ब्याजदर ४.२५ प्रतिशत रहेको थियो ।

त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले चैत महिनाका लागि ४.११ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनाका लागि यो बैंकको यस्तो ब्याजदर ४.२५ प्रतिशत रहेको थियो ।

नेपाल बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दतिमा ४.५ प्रतिशत कायम गरेको छ । जुन फागुन महिनामा ५.१ प्रतिशत रहेको थियो । त्यस्तै चैत महिनाका लागि कुमारी बैंकको ब्यजदर ४.१२ प्रतिशत निर्धारण गरेको छ । फागुन महिनामा यस्तो ब्याजदर ४.४३ प्रतिशत रहेको थियो ।

ग्लोबल आईएमई बैंकले चैत महिनाका लागि ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनामा यो बैंकको यस्तो ब्याजदर ४.७५ प्रतिशत रहेको थियो । त्यस्तै प्राइम बैंकले चैत महिनाका लागि ४.१५ प्रतिशत ब्याजदर घोषणा गरेको छ । फागुन महिनामा यस्तो ब्याजदर ४.२५ प्रतिशत रहेको थियो ।

त्यस्तै चैत महिनाका लागि नेपाल एसबिआई बैंकले ४.२५ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ । फागुन महिनामा पनि यो बैंकले सोही दरमा व्यक्तिगत मुद्दतिमा ब्याज दिएको थियो । त्यस्तै एभरेष्ट बैंकको चैत महिनाका लागि ४.२५ प्रतिशत, सिद्धार्थ बैंकको ४.२५ प्रतिशत रहेको छ । यी बैंकको पनि फागुन महिनामा सोही दरको ब्याजदर रहेको थियो ।

चैत महिनाका लागि माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइनज बैंक, सानीमा बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ब्याजदर चैत महिनाका लागि ४.५ प्रतिशत निर्धारण गरिएको छ ।

यी बैंकको फागुन महिनामा पनि व्यक्तिगत मुद्दतिमा सोही दरको ब्याजदर तोकेका थिए । त्यसैगरी चैत महिनामा प्रभु बैंक र नबिल बैंकले ब्याजदर ४.५५ प्रतिशत तोकेका छन् । फागुन महिनामा पनि यी दुई वटा बैंकको ब्याजदर सोही दरमा थियो ।

त्यस्तै चैत महिनाका लागि हिमालय बैंक, राष्ट्रि वाणिज्य बैंक, एनआइसी एशिया बैंक र एनएमबी बैंकले व्यक्तिगत मुद्दतिमा ५ प्रतिशत ब्याजदर तोकेका छन् । फागुन महिनामा पनि यी बैंकहरुको व्यक्तिगत मुद्दतिको ब्याजदर ५ प्रतिशत नै रहेको थियो ।

मनकामनाबाट फर्किँदै गरेको माइक्रो दुर्घटना, ७ को मृत्यु

काठमाडौं– गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको माइक्रो बस शनिबार राति दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ ।

मृतक दुई जना महिला र पाँच जना पुरुष रहेका छन् । उनीहरूको सनाखत हुन बाँकी रहेको गोरखाका ट्राफिक प्रहरी प्रमुख सुरज अर्यालले बताए।

उनका अनुसार दुर्घटनामा ८ जना घाइते भएका छन् । उनीहरूको उद्धार गरिएको छ । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते अर्का एकको थप उपचारका लागि भरतपुर रिफर गरिएको छ ।

अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ । घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरीको टोली खटिएको थियो । प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस राति करिब ८ बजेतिर दुर्घटना भएको हो ।

गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको छ । दुर्घटनाको कारण ओरालो बाटोमा गाडी तातेर ब्रेक फेल हुँदा भएको हुन सक्ने अनुमान गरिएको छ ।

सर्मनाक कांग्रेसको हारमा गगनकाे बचाउ, राजीनामा नदिन निकट नेताहरूकाे दबाब (भिडियाे)

काठमाडौं । इतिहासमै कमजोर बनेको छ– नेपाली कांग्रेस । हालैको चुनावमा कांग्रेस मात्रै हारेन, कांग्रेसबाट प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार गगन थापा हारे, जो सभापति हुन् ।

उनको ‘बदलीयको कांग्रेस र देश बदल्ने संकल्पलाई मतदाताहरूले पत्याएनन् । अलिक कडा शब्दमा उनी भावी प्रधानमन्त्रीमा मतदाताको रोजाइमा परेनन् । अर्थात् उनी र उनको दल कांग्रेस जनताबाट अस्वीकृत भए ।

विगतमा शेरबहादुर देउवा सभापति छँदा कांग्रेसको चुनावमा हार हुँदा गगन थापा देउवालाई नैतिकताको आधारमा राजीनामा दिन दबाब दिन्थे । यसपटक त कांग्रेसले इतिहासमै सर्मनाक हार बेहोर्‍यो ।

तर, गगनको राजीनामा आएको छैन । भनिन्छ, उनी राजीनामा दिन तयार छन् । यस्ता समाचारहरू केही दिनदेखि आइरहेका छन् । कतिपयले उनले मिडिया ट्रायल गरिरहेको भनेर टिप्पणी गरेका छन् ।

यद्यपि, उनीपक्षीय भनौँ या उनलाई समर्थन गर्ने नेताहरूले राजीनामा नदिन सुझाव दिने गरेका छन् । शनिबार मात्रै ३५ जना केन्द्रीय सदस्यहरूले थापालाई भेटेर पदबाट राजीनामा नदिन आग्रह गरे ।

कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीका अनुसार उनीहरूले अहिले पार्टी प्रमुखको जिम्मेवारीबाट नबाहिरिन अनुरोध गरेका हुन्।

सभापति थापालाई भेट्न मधु आचार्य, अजयबाबु शिवाकोटीलगायत नेताहरू उनको घर पुगेका थिए ।

केही दिनअघि उपसभापति विश्वप्रकाश शर्माले पनि सभापति थापालाई अहिले पदबाट राजीनामा नदिन सुझाव दिएका थिए।

हर्क साम्पाङले छाने समानुपातिक सांसद- मन्दिरा, अम्बिका, राधिका र पूर्ण

काठमाडौं – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसद छनाेट गरेकाे छ । उनले शनिबार  चार जनाको नाम समानुपातिक सांसदका रूपमा टुङ्ग्याएका हुन् ।

पार्टीले समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको थियो, जसको आधारमा ४ जना सांसद पाउने अधिकार प्राप्त भयो। साेही अनुसार चार सांसद छनाेट गरिएकाे पार्टी केन्द्रीय कोषाध्यक्ष समिता राईले बताइन् ।

१. मन्दिरा मोक्तान (हेटौँडा) – आदिवासी महिला

२. अम्बिका सङ्ग्रौला – खस आर्य महिला

३. राधिका रम्तेल (सुर्खेत) – दलित कोटा

४. पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बू – आदिवासी जनजाति

समानुपातिक सूची तयार गर्दा पार्टीभित्र विवाद देखिएको थियो। पहिलो नम्बरमा रहेका जीवन विष्टले विवाद बढेपछि आफ्नो नाम फिर्ता लिएका थिए।

समानुपातिक सांसदको चयनअघि अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका थिए कि पार्टीमा रोइलो गर्ने वा विवाद खडा गर्ने सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिनेछ। उनले मजाकिया शैलीमा पनि लेखेका थिए- ‘भात खाऊ। मेरो टाउको नखाऊ।’

प्रत्यक्षतर्फ पार्टीले खोटाङ, भोजपुर र सुनसरी–१ मा जित हासिल गरी राष्ट्रिय दलको मान्यता पाएको छ।

यी हुन् एमालेका १६ जना समानुपातिक सांसद (नामवलीसहित)

काठमाडौं । नेकपा एमालेले १६ जना समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ ।

निर्वाचन आयोगले आइतबारसम्म समानुपातिकतर्फको नाम बुझाउन दिएको निर्देशनअनुसार एमालेले क्लस्टरका आधारमा समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाएको हो ।

आयोगमा यसअघि बुझाएको बन्दसूचीका आधारमा समानुपातिक सांसदहरू छनोट गरेको एमाले नेता लेखराज भट्टले बताए ।

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हाे ।

समानुपातिक सांसदहरू

जनजाति

महिला :

–भूमिका सुब्बा

–गंगादेवी श्रेष्ठ

पुरुष :

–रामबहादुर थापा मगर

–कुलभक्त शाक्य

खस आर्य

महिला :

–पद्मा अर्याल

–टुकाभद्रा हमाल

–एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :

–गुरु प्रसाद बराल

–पुष्पराज कंडेल

थारु

–कृपाराम राणा (पुरुष)

दलित

महिला :

–विष्णुमाया वी.के.

–नीता घटानी

मधेसी

महिला :

–रिङ्ला यादव

–यशोधा कुमारी यादव

पुरुष :

–चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम

महिला :

–साजिदा सिद्दीकी

 

जेन-जी विद्रोहमा ध्वंश गर्न पेट्रोल प्रयाेग, कार्की आयोगले छाेप्याे महत्वपूर्ण प्रमाण-भिडियो

काठमाडौं । १९ जना किशोरकिशोर गोली लागेर ढलेको भोलिपल्ट २४ भदौमा देश जल्यो । सिंहदरबार जल्यो । संसद् भवन जल्यो ।

जल्यो सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयदेखि व्यापारिक कम्प्लेक्स । क्षणभरमै सबै खरानी भए ।

त्यसबेला अमेरिकाको न्युयोर्क टाम्सले लेख्यो– नेपालमा आगजनी गर्न विद्रोहीहरूले रसायन प्रयोग गरे । तर, फरेन्सिक परीक्षणले आगजनी गर्न पेट्रोलियमजन्य पदार्थको प्रयोग पुष्टि गरेको छ, तर गौरीबहादुर कार्की नेतृत्वको आयोगले हालै सरकारलाई बुझाएको प्रतिवेदनमा त्यो महत्वपूर्ण तथ्य छुटायो ।

प्रहरीका अनुसार प्रारम्भमा संकलित नमुनाहरू नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइए। नतिजा नआएपछि भारत पठाइयो।

परीक्षणका लागि काठमाडौंस्थित विधि विज्ञान प्रयोगशालाका प्रहरी नायव उपरीक्षक स्वयं दिल्ली पुगेका थिए। झण्डै ३ किलो खरानी नमुना भारतीय प्रयोगशालामा परीक्षणका लागि पठाइएको र पेट्रोलियम हाइड्रोकार्बन अवशेष फेला परेको प्रतिवेदन नेपालमा १८ दिनअघि नै आएको थियो।

तर, आयोगले प्रतिवेदनमा यसलाई समावेश गर्न सकेन। आयोगका सदस्यहरूका अनुसार, प्रतिवेदन आयोगको अध्ययन अन्तिम चरणमा मात्र आएको र समयमै प्रतिवेदन तयार नभएकाले महत्त्वपूर्ण फरेन्सिक तथ्य समावेश गर्न नसकिएको हो। यसले आयोगको जिम्मेवारी र कार्यप्रणालीमा प्रश्न उठाएको छ।

अमेरिकी मिडिया द न्यूयोर्क टाइम्सले भदौ २४ मा भएको आगजनीमा रासायनिक पदार्थ प्रयोग भएको शंका गर्दै समाचार प्रकाशित गरेपछि प्रहरीको ध्यान यसमा गएको थियो। त्यसपछि घटनास्थलबाट नमुना संकलन सुरु गरिएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन एसपी काजीकुमार आचार्यको नेतृत्वमा पनि छानबिन समिति गठन भएको थियो।

जाँचका क्रममा, आन्दोलनमा संलग्न युवाहरूले ‘डिस्कर्ड’ प्लेटफर्ममा ‘युथ अगेन्स्ट करप्सन’ र ‘युवा हब’ सर्भरमा सोडियमसहितका रसायन र मोलोटोभ ककटेल बनाउने विषयमा चर्चा गरेको भेटिएको छ। ‘मोलोटोभ ककटेल’ शब्द ३५६ पटक प्रयोग भएको तथ्य पनि अनुसन्धानकर्ताले सार्वजनिक गरेका छन्।

तर आयोगले, यस्ता स्पष्ट डिजिटल प्रमाण र फरेन्सिक परिणामलाई पनि प्रतिवेदनमा समावेश नगरी, केवल सामान्य टिप्पणीमा सीमित राखेको छ। यसले अनुसन्धानको पारदर्शिता र निष्पक्षता बारे शंका पैदा गरेको छ।

विशेषज्ञहरूका अनुसार, आयोगको ढिलाइ र महत्वपूर्ण प्रमाणको प्रतिवेदनमा समावेश नगर्नु सार्वजनिक विश्वासमा कमी र उच्चपदस्थको प्रतिरक्षा बढाउने जोखिम पैदा गर्न सक्छ। आयोगले मात्र सिफारिस जारी गरेको भए पनि, तत्काल कारबाही वा स्पष्ट अनुसन्धान प्रक्रिया अघि बढाउन नसक्नु आलोचनाको मुख्य बिन्दु बनिरहेको छ।

हाल, जेएन–जे आन्दोलनको अनुसन्धान जारी छ। तर फरेन्सिक प्रमाण र डिजिटल तथ्यको उपलब्धताका बाबजुद आयोगको ढिलाइ र प्रतिवेदनमा तथ्य छुट्नुले घटनाको पूर्ण रूपले उजागर हुन कठिनाइ आएको छ।

राजनीतिक विश्लेषकहरू भन्छन् कि यसले राजनीतिक उत्तरदायित्व सुनिश्चित गर्न र भविष्यमा यस्ता घटनाबाट पाठ सिक्न कठिनाइ पुर्याउँछ ।

शोकमा रहेको अवस्थामै पार्टी सचिवालय बैठकमा केपी शर्मा ओली (फोटो फिचर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष अर्थात् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बाबुको शोकमा रहेको अवस्थामै पार्टी सचिवालय बैठकमा सहभागी भएका छन् ।

शनिबार अध्यक्ष ओली सचिवालय बैठकमा सहभागी भएका हुन् ।

अध्यक्ष ओलीका बाबु माेहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो ।

बैठकमा एमालेले चुनावी समीक्षा गर्दैछ । एमालेले यसपटक निर्वाचनमा हार भाेगेकाे छ ।
एमालेबाट भावी प्रधानमन्त्रीका उम्मेदवार भएका ओली  नै पराजित भए ।
पार्टीमा हारपछि नेताहरू आरोप–प्रत्यारोपमा लागेका छन् ।
 

एमाले सचिव योगेश भट्टराईले निर्वाचनमा जिम्मेवारी नपाएको महासचिव शंकर पोखरेलद्वारा अस्वीकार

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टी सचिव याेगेश भट्टराईलाई जिम्मेवारी नदिएको भन्ने सामाजिक सञ्जालमा फैलिएको चर्चाप्रति स्पष्टीकरण दिएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले निर्वाचनका समयमा भट्टराईले महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको देखिएको उल्लेख गरेका छन्।

तर, आफूले भट्टराईलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा सम्भव भएसम्म सहभागी हुन अनुरोध गरेको बताएका छन्।

पोखरेलका अनुसार उनले भट्टराईलाई समय मिलेसम्म दाङमा समेत आउन आग्रह गरेका थिए।

त्यसबेला भट्टराईले भने ताप्लेजुङ जानुपर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए। उनले त्यसलाई स्वाभाविक रूपमा लिएको पनि बताएका छन्।

हाल भट्टराईका नाममा प्रसारित केही समाचारप्रति आफू आश्चर्यचकित भएको पोखरेलले उल्लेख गरेका छन्। ‘सायद उहाँको भनाइको अधुरो अंश मात्र सम्प्रेषण भएको हुन सक्छ,’ उनले भनेका छन्।

पोखरेलले भ्रम नपरोस् भन्ने उद्देश्यले मात्र उक्त विषय स्पष्ट पार्न आवश्यक ठानेको बताएका छन्।

हाल सामाजिक सञ्जालमा प्रतिनिधिसभा निर्वाचनका समयमा पार्टीभित्रको भूमिकाबारे विभिन्न टिप्पणी र चर्चा भइरहेका छन्।

रविकाे निर्देशनपछि सारियाे रास्वपा सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सारिएकाे छ । सभापति रवि लामिछानेकाे निर्देशनपछि बैठक सारिएकाे प्रवक्ता मनिष  झाले बताए ।

उनका अनुसार अब सचिवालय बैठक आइतबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय (वनस्थली, काठमाडौँ) मा बस्ने छ ।

बैठकको कार्यसूचीमा समानुपातिक सांसद सिफारिस र विविध छन्।

यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष १२५ र समानुपातिक ५७ गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिट जितेर एक्लै सरकार गठन गर्दै छ।

अमेरिकी दूतावासमा मिसाइल आक्रमण, धुवाँ उठेको देखियाे

दुई जना इरान समर्थित लडाकु मारिएपछि अमेरिकी दूतावासमा मिसाइल आक्रमण भएको छ ।

इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा मिसाइल आक्रमण भएको हो ।

रायटर्सका स्रोत अनुसार मिसाइलले दूतावासको भवनमा प्रहार गर्दा धुवाँ उठेको देखिएको छ, तर क्षतिको विस्तृत विवरण आएको छैन ।

एसोसिएटेड प्रेसका अनुसार मिसाइलले दूतावास परिसरको हेलिप्याडमा प्रहार गरेको छ ।

त्यसैगरी एएफपीले उद्धृत स्रोतका अनुसार ड्रोनद्वारा पनि दूतावासमा हमला भएको बताएको छ ।

पदमुक्त राजभण्डारी-आचार्यको आक्रोश : चुनावमा सर्मनाक हारको जिम्मा अध्यक्ष लिङ्देनले लिनुपर्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यले आफूहरूलाई पदमुक्त गरिएको भनिएको निर्णयप्रति आपत्ति जनाएका छन्।

उनीहरूले शनिबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको कारबाही विधानविपरीत भएको दाबी गरेका छन्।

विज्ञप्तिमा आफूहरूलाई पदमुक्त गरिएको सूचना अनलाइन माध्यमबाट मात्रै थाहा पाएको उल्लेख गर्दै प्राकृतिक न्यायको सिद्धान्तअनुसार स्पष्टीकरणको मौका नदिई गरिएको कारबाही स्वीकार्य नभएको बताएका छन्।

पार्टीको केन्द्रीय कार्यसमिति तथा अनुशासन समितिको अधिकारक्षेत्र मिचेर अध्यक्षले एकल रूपमा यस्तो निर्णय गर्न नपाउने उनीहरूको जिकिर छ।

उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्षित गर्दै पार्टी विधानको अवमूल्यन गरिएको आरोप पनि लगाएका छन्। ‘पार्टी विधानको धारा र व्यवस्थाअनुसार अध्यक्षबाट हामीलाई पदमुक्त गरिएको हो वा होइन भन्नेबारे केन्द्रीय कार्यसमिति स्वयंले स्पष्ट पार्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।

उनीहरूले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई पनि नेतृत्वको असफलतासँग जोडेर आलोचना गरेका छन्।

गत निर्वाचनअघि केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्षले अप्रत्याशित नतिजा हात पारेर राप्रपालाई देशको पहिलो पार्टी बनाउने दाबी गरेको स्मरण गराउँदै उनीहरूले वास्तविक परिणाम भने त्यसको विपरीत आएको बताएका छन्।

उनीहरूका अनुसार पार्टीले उम्मेदवारी दिएको अधिकांश क्षेत्रमा कमजोर परिणाम भोगेको छ।

प्रतिनिधिसभाको निर्वाचनमा १६४ मध्ये १५९ निर्वाचन क्षेत्रमा राप्रपाका उम्मेदवारहरूको जमानत जफत भएको उल्लेख गर्दै यसला ‘शर्मनाक असफलता’ भनिएको छ।

यस्तो परिणामको जिम्मेवारी नेतृत्वले लिनुपर्नेमा उल्टै आलोचना गर्नेहरूलाई कारबाही गरिएको आरोप पनि उनीहरूले लगाएका छन्।

‘हामीमाथि कारबाही गरेर मूल नेतृत्व नैतिक जिम्मेवारीबाट मुक्त हुन सक्दैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो निर्णय लोकतन्त्रको आधारभूत मूल्य र राजनीतिक नैतिकताविपरीत छ।’

राजभण्डारी र आचार्यले पार्टीभित्र संस्थागत रूपमा निर्वाचनको समीक्षा गर्नुपर्ने बेलामा व्यक्तिगत स्वेच्छाचारिता देखाइएको आरोप पनि लगाएका छन्।

पार्टी सुदृढीकरण र वैचारिक विचलनविरुद्ध रचनात्मक आलोचना गर्दै आएका नेतामाथि नै गुटगत स्वार्थमा आधारित कारबाही गरिएको उनीहरूको भनाइ छ।

दुवै नेताले यस्ता निर्णयहरूबारे पार्टीभित्र संस्थागत रूपमा छलफल हुनुपर्नेमा जोड दिएका छन्। ‘घात-अन्तर्घात जस्ता विषयमा संस्थागत रूपमा सम्बोधन हुनु जरुरी छ, अन्यथा अपारदर्शी कामले शंका उत्पन्न गर्छ र प्रश्न नेतृत्वतर्फै तेर्सिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

राजभण्डारी र आचार्यले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र संस्थागत प्रक्रियाको सम्मान गर्न नेतृत्वलाई आग्रह गर्दै कारबाहीबारे स्पष्ट निर्णय सार्वजनिक गर्न माग गरेका छन्।

अब सत्तामा बालेन, सडकमा जेन–जी : समर्थन कि विद्रोह ? (भिडियो)

काठमाडौं । बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री हुँदा जेन–जीहरू भने ‘प्रतिपक्षीय’ भूमिकामा बस्ने भएका छन् ।

नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरू कमजोर देखिने आकलनबीच जेन–जी विद्रोह र प्रतिनिधिसभा निर्वाचनको जनादेशअनुसार अब गठन हुने बालेन सरकारले परिणाममुखी काम गर्छ कि गर्दैन भन्दै जेन–जीहरू खबरदारी गर्न प्रतिपक्षीय भूमिकामा बस्ने जेन–जी मुभमेन्ट अलायन्समा आबद्ध रिजन राना मगरले बताए ।

उनले बालेन सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए ।

‘विगतमा बालेनले गरेका राम्रा कामको समर्थन गरेका हौँ र शासकजस्तो बनेर जे–जस्ता भुुइँमान्छे विरोधी काम गरे, त्यसको विरोधमा सडकमा आएका थियौँ’, उनले भने, ‘अब पनि हामी उहाँलाई गुण र दोषका आधारमा हामीले समर्थन र विरोध गर्ने हुन्छ ।’

हालै गौरीबहादुर कार्की नेतृत्वको आयोगले जेन–जी विद्रोहको सत्य तथ्य जाँचबुझ गरी सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न पनि उनले माग गरे ।

प्रतिवेदनको कार्यान्वयन हुनुपर्ने भन्दै उनले २३ भदौमा भएको घटनामा संलग्न सरकारी पदाधिकारी र २४ गते संगठित रुपमा घुसपैठ गर्नेहरूलाई कारबाही गर्नुपर्नेमा आफू स्पष्ट रहेको पनि बताए ।

उनै मगरसँग नेपालवान एचडीका लागि जङ्ग तामाङ गरेको भिडियो संवादको पूरा अंश प्रस्तुत छ :-

ओलीका पिता माेहनप्रसादकाे ‘नेत्र दान’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको नेत्र दान भएको छ ।

उनको इच्छाअनुसार नेत्र दान गरिएको एमाले सचिव महेश बस्‍नेतले बताएका छन् ।

उनले सामाजिक सञ्‍जाल फेसबुकमा तस्बिरहरूले राख्दै भने, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ। निधनपछि उहाँको इच्छाअनुसार आँखा दान गरिएको छ।’

ओलीका पिता मोहनप्रसादको आज बिहान निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

हत्या मुद्दामा जेल बसेका रामविनोद अब ‘माननीय’, काँधमा कानुन बनाउने जिम्मेवारी (भिडियो)

काठमाडौं– हत्या घटनामा दोषी ठहर भई तीन वर्ष जेल सजाय भुक्तान गरेका रामविनोद यादव अहिले सांसद भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका उनी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा धनुषा–२ बाट निर्वाचित भए ।

आपराधिक पृष्ठभूमि भएका उनी अब कानुन बनाउने जिम्मेवारीसहित प्रतिनिधिसभामा हुनेछन् । उनले हत्या मात्रै होइन, कुटपिट, डकैती, गोली प्रहारलगायत घटनामा पटकपटक मुद्दा खेपेका थिए ।

२०५४ र २०५८ मा कुटपिट, २०६० मा गोली प्रहार, २०६४ मा डकैती र २०६६ मा हत्याको मुद्दा खेपेका हुन् । उनैलाई रास्वपाले कानुन बनाउने मूल दायित्व भएको प्रतिनिधिसभामा ल्याउन उम्मेदवार बनायो र जितेर प्रतिनिधिसभा आउँदैछन् ।

उनले पत्रकार तथा सञ्चार उद्यमी अरुण सिङ्घानीयको हत्या प्रकरणमा अदालतबाट दोषी ठहर भई फैसला भए अनुुसार तीन वर्ष कैद भुक्तान गरेका थिए ।

अपराधीका रूपमा जेल जीवन बिताएका व्यक्ति अहिले ‘माननीय’का रूपमा संसदमा पुग्नुले राजनीतिक नैतिकता, सुशासन र लोकतान्त्रिक मूल्यबारे गम्भीर बहस सुरु भएको छ ।

यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका यादवले ४१ हजार ६ सय ३७ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए ।

यससँगै उनी प्रतिनिधिसभामा प्रवेश गरेका छन् । तर उनको विगत भने निकै विवादित र गम्भीर अपराधसँग जोडिएको देखिन्छ ।

हाेलीमा हत्या

अदालतको अभिलेखअनुसार यादव पत्रकार सिंघानियाको हत्या प्रकरणमा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत धनुषाले उनलाई तीन वर्ष कैद सजाय सुनाएको थियो ।

उक्त फैसला पछि उच्च अदालत जनकपुरले पनि सदर गरेको थियो । अदालतले हत्या योजनामा उनको भूमिका रहेको ठहर गर्दै सजाय सुनाएको थियो ।

२०६६ साल फागुन १७ गते होलीका दिन जनकपुरमा सञ्चार उद्यमी सिंघानियामाथि गोली प्रहार गरी हत्या गरिएको थियो । रंग खेल्ने बहानामा पुगेका व्यक्तिहरूले नजिकबाट टाउकोमा गोली हानेपछि घटनास्थलमै उनको मृत्यु भएको थियो ।

अनुसन्धानका क्रममा हत्या योजनाको मुख्य अभियुक्तका रूपमा चिनिएका सञ्जय साह टक्लाका सहयोगीका रूपमा यादवको भूमिका देखिएको थियो ।

अदालतले हत्या योजना बनाउन, सुटर व्यवस्थापन गर्न तथा हतियार उपलब्ध गराउने कार्यमा यादव संलग्न रहेको ठहर गरेको थियो ।

सिंघानिया हत्या प्रकरण सार्वजनिक भएपछि यादव केही वर्ष फरार रहेका थिए । घटनापछि उनी करिब सात वर्षसम्म प्रहरीको पहुँच बाहिर रहे ।

पछि २०७३ साउन ३२ गते उनी जिल्ला अदालत धनुषामा हाजिर भए । त्यसपछि चलेको मुद्दामा २०७६ असार १७ गते अदालतले उनलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनायो ।

उनले उक्त फैसलाविरुद्ध पुनरावेदन दिए पनि उच्च अदालत जनकपुरले जिल्ला अदालतकै फैसला सदर गर्‍यो । त्यसपछि उनले कैद सजाय भुक्तान गरेका थिए ।

निर्वाचनसम्बन्धी कानुनअनुसार हत्या जस्तो अपराधमा २० वर्षभन्दा कम सजाय पाएका व्यक्तिले सजाय भुक्तान गरेको ६ वर्षपछि चुनाव लड्न पाउने व्यवस्था छ । यही व्यवस्थाका कारण यादव कानुनी रूपमा उम्मेदवार बन्न योग्य बनेका थिए ।

सजाय भुक्तान गरेर कानुनी अवधि पूरा भएपछि उनी सक्रिय राजनीतिमा प्रवेश गरे । त्यसपछि रास्वपामा आबद्ध भई धनुषा–२ बाट उम्मेदवार बने र निर्वाचित भए ।

तर हत्या जस्तो गम्भीर अपराधमा दोषी ठहर भइसकेका व्यक्ति संसदमा पुग्नुले राजनीतिक नैतिकता र सुशासनबारे प्रश्न उठाएको छ । विशेषगरी सुशासन र पारदर्शिताको नारासहित उदाएको रास्वपाले यस्तो पृष्ठभूमि भएका व्यक्तिलाई उम्मेदवार बनाउनु आलोचनाको विषय बनेको छ ।

मधेस क्षेत्रको राजनीतिमा अपराध पृष्ठभूमि भएका व्यक्तिहरू सार्वजनिक पदमा पुगेका उदाहरण नयाँ भने होइन । यसअघि मिर्जा दिलशाद बेग, मोहम्मद अप्ताब आलाम, सञ्जय साह टक्लाजस्ता विवादित पात्रहरू राष्ट्रिय राजनीतिमा पुगेका उदाहरण छन् ।

नेपालको संघीय संसद देशको कानुन निर्माण गर्ने सर्वोच्च निकाय हो । त्यही संस्थामा पत्रकार हत्या प्रकरणमा दोषी ठहर भइसकेका व्यक्ति पुग्नुले राजनीतिक प्रणाली र नैतिकतामाथि प्रश्न खडा गरेको छ ।

विशेषगरी लोकतन्त्रमा प्रेस स्वतन्त्रता महत्वपूर्ण मानिन्छ । त्यही प्रेस क्षेत्रसँग सम्बन्धित व्यक्तिको हत्या प्रकरणमा दोषी ठहर भइसकेका व्यक्ति संसदमा पुग्‍नुले लोकतान्त्रिक मूल्यबारे बहसलाई अझ तीव्र बनाएको छ ।

पार्टीभित्र अनुशासन कायम गर्न कांग्रेस सक्रिय, उजुरीहरू अध्ययन गर्ने निर्णय

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको समितिको बैठकले प्राप्त उजुरीहरूलाई व्यवस्थित रूपमा अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

बैठकले पार्टी केन्द्रीय कार्यालयका सह-सचिव दिनेश थापा मगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णयसमेत गरेकाे छ । समिति संयोजक तारामान गुरुङकाे अध्यक्षतामा बैठक बसेकाे पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

पछिल्लो समय पार्टीका विभिन्‍न तहका नेता तथा कार्यकर्ताविरुद्ध अनुशासन उल्लंघनसम्बन्धी उजुरीहरू बढ्दै गएपछि तिनलाई व्यवस्थित रूपमा अध्ययन गर्न समितिलाई सक्रिय बनाइएको हाे ।

बैठकले प्राप्त उजुरीहरूको तथ्यगत अध्ययन गरी आवश्यक सिफारिस तथा कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ। यसले पार्टीभित्र अनुशासन कायम राख्‍न तथा संगठनात्मक प्रणालीलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास पार्टी सभापति गगन थापाकाे छ।

इनिसा विककाे बलात्कारपछि मृत्यु प्रकरणले देशभर आक्रोश : सीआईबी टाेली सुर्खेतमा (भिडियो)

काठमाडौं । इनिसा विकको बलात्कारपछि भएको मृत्यु प्रकरणले सुर्खेतदेखि काठमाडौंसम्मै आक्रोश सिर्जना गरेको छ ।

उनको न्यायका लागि घनिभूत रूपमा आवाज उठेको छ । उनको शव परीक्षण प्रतिवेदनमा बलपूर्वक यौनसम्पर्कका कारण अत्यधिक रक्तस्राव भएर मृत्यु भएको औँल्याइएको छ ।

यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले थप वैज्ञानिक अनुसन्धान गर्ने भएको हो । प्रहरी निरीक्षक नेतृत्वको सीआईबी टोली सुर्खेत पुगिसकेको छ ।

भेरी अस्पताल नेपालगञ्जको फरेन्सिक विभागले इनिसाको यौनांगको भित्री र बाहिरी भाग गम्भीर रूपमा च्यातिएको पाइएको जनाएको छ । अर्थात् इनिसाको यौनांगमा गहिरो चोट लागेको छ । त्यसका कारण अत्यधिक रक्तस्राव भएको र सोही कारण मृत्युको उल्लेख छ ।

शव परीक्षण प्रतिवेदनमा मृतकको ढाडमा घस्रिएको चोटसमेत देखिएको उल्लेख छ । यद्यपि सामूहिक बलात्कार भएको वा नभएकोबारे प्रतिवेदनले स्पष्ट निष्कर्ष दिएको छैन ।

इनिसा सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा–११ मा अध्ययनरत थिइन् । उनी यही २३ फागुन बिहान ६ बजे ट्युसन पढ्न भन्दै घरबाट निस्किएकी थिइन् ।

वीरेन्द्रनगर–१ मा बस्दै आएकी उनी लामो समयसम्म घर नफर्किएपछि आमा तिला विक चिन्तित बनेकी थिइन् । त्यसबीच करिब तीन घण्टापछि इनिसा जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा भेटिइन् । स्थानीय र प्रहरीले उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्‍याए तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि गरिरहेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जना किशोरलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जना १६ वर्षीय किशोर इनिसाको प्रेमी भएको बताइएको छ ।

प्रहरीलाई दिएको बयानमा उनले इनिसासँग दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको बताएका छन् । उनका अनुसार २३ फागुन बिहान ७ बजेतिर इनिसासँग सल्लाह गरेरै उनीहरू सहिद पार्क नजिकको जंगलतर्फ गएका थिए ।

ती किशोरको बयान उदृत गर्दै अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘हामी दुई वर्षदेखि सम्बन्धमा थियौं । पहिले पनि शारीरिक सम्पर्क भएको थियो ।’
उनका अनुसार त्यहाँ पुगेपछि केहीबेर गफगाफ भएको र त्यसपछि दुवैको सहमतिमा शारीरिक सम्बन्ध भएको थियो ।

तर, त्यसक्रममा अचानक इनिसाको यौनांगबाट अत्यधिक रक्तस्राव हुन थालेको उनले बताएका छन् । त्यसपछि आफू आत्तिएको उनको भनाइ छ ।

लगत्तै आफ्ना साथीहरूलाई बोलाएको र तीन जना घटनास्थलमा आएको पनि बताएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

ती किशोरहरूले नजिकैको गाउँमा गएर स्थानीयलाई घटनाबारे जानकारी गराएको र स्थानीयले बिहान ९ ः४५ मा प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेर उनलाई अस्पताल पुर्‍याउँदा बिहान १० बजिसकेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापाका अनुसार प्रहरी घटनास्थलमा पुग्दा किशोरीको अवस्था अत्यन्त गम्भीर रहेको देखेको थियो ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सीसी टीभी फुटेजको पनि विश्लेषण गरेको छ । फुटेज हेर्दा घटनाअघि इनिसा र उनका प्रेमी वीरेन्द्रनगर क्षेत्रमा सँगै हिँडिरहेको दृश्य देखिएको छ ।

उनीहरू जनजागरण सामुदायिक वनतर्फ हात समाएर हिँडिरहेको फुटेज प्रहरीले फेला पारेको जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयबाट पोलिग्राफ परीक्षण गर्ने टोली पनि सुर्खेत पुगेको छ ।

मृतकको शव भने छ दिन बितिसक्दा पनि प्रदेश अस्पताल सुर्खेतको शवगृहमा राखिएको छ । परिवारले भने सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै न्याय सुनिश्चित नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

घटनापछि इनिसाको बुबा इन्द्रबहादुर विक पनि दुबईबाट वीरेन्द्रनगर आइपुगेका छन् । उनले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

खाना पकाउने एलपी ग्यास पाउन सर्वसाधारणलाई सास्ती, सरकारकाे अन्देखा

काठमाडौं । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नहुँदा सर्वसाधारणले फेरि सास्ती भोग्‍नु परेको छ ।

ग्यास डिपो र उद्योगहरू बाहिर एक सिलिण्डर ग्यास पाउनका लागि उपभोक्ताहरू बिहानैदेखि लाइनमा बस्न बाध्य भएका छन् ।

ग्यास उद्योग (डिपो) बाहिर सडकको किनारै–किनार खाली सिलिण्डरको लामो लाइन देख्न सकिन्छ । विशेषगरी ‘नेपाल ग्यास’का राता सिलिण्डरहरू सडकपेटीमा लामवद्ध राखिएका छन् ।

आफ्नो पालो कुरेर घन्टौं उभिनुपर्दा उपभोक्ताको अनुहारमा थकान र निराशा प्रस्टै झल्किन्छ । लाइनमा युवा, वृद्धदेखि महिलाहरूसम्मको उल्लेख्य उपस्थिति छ ।

कोही मोटरसाइकलको पछाडि सिलिण्डर बाँधेर आइरहेका छन् भने कोही काँधमै गह्रौं सिलिण्डर बोकेर डिपो धाउन बाध्य छन् ।

भीडभाडमा आफ्नो सिलिण्डर नहराओस् वा नसाटियोस् भनेर कतिपय उपभोक्ताले सिलिण्डरको रेगुलेटर लाग्ने ठाउँमा सेतो कपडा वा बोराको टुक्रा बाँधेर चिनो लगाएको रोचक तर विवश दृश्य पनि तस्बिरमा कैद भएको छ ।

एउटा ग्यास सिलिण्डर भर्नका लागि आफ्नो दैनिक कामधन्दा, कार्यालय र व्यापार व्यवसाय नै माया मारेर दिनभर सडकमा बस्नुपर्ने बाध्यताले नागरिकको दैनिकी अत्यन्त कष्टकर बनेको छ ।

बजारमा ग्यास अभावको हल्ला चल्ने बित्तिकै वा आपूर्तिमा सामान्य ढिलाइ हुँदा पनि उपभोक्तामा मनोवैज्ञानिक त्रास सिर्जना हुने गरेको छ, जसका कारण ग्यास पाइने आशमा मानिसहरू यसरी उद्योग र डिपोहरूमा ह्वारह्वार्ती पुग्ने गर्छन् ।

अत्यावश्यक उपभोग्य वस्तुको रूपमा रहेको खाना पकाउने ग्यासको वितरण प्रणालीलाई व्यवस्थित गर्न नसक्नु र बेला–बेलामा यस्तो अभाव सिर्जना हुनुले आपूर्ति व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ ।

सम्बन्धित निकायले ग्यास आपूर्तिलाई सहज, पारदर्शी र नियमित बनाउन तत्काल कदम नचाल्ने हो भने सर्वसाधारणले यस्तो सास्ती अझै व्यहोरिरहनुपर्ने निश्चित छ ।

ओलीकाे पिताकाे पशुपति आर्यघाटमा अन्तिम बिदाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  बुबा माेहनकाे पार्थिव शरीमा छाेरा ओलीले मुखाग्नि दिए ।

९७ वर्षकाे उमेरमा माेहनप्रसादकाे भक्तपुरको गठ्ठाघरस्थित नेपाल-कोरियामैत्री अस्पतालमा आज निधन भएको हाे ।

उनकाे अन्त्येष्टि अघि श्रद्धाञ्जली अर्पण गर्न नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल, काङ्‍ग्रेस सभापति गगन थापा, रास्वपा नेता जगदीश खरेललगायत नेताहरु, एमाले कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरु अस्पताल पुगेका थिए ।

मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

 

रास्वपा सरकारको तयारीमा जुट्न लाग्दा रविलाई प्रचण्डको फोन, हाेला रास्वपा-नेकपा सत्ता सहकार्य ?

काठमाडौं । नयाँ सरकार गठनकाे सुरसार चल्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफाेन कुराकानी भएको छ ।

निर्वाचनअघि प्रचण्डले रास्वपासँग सत्ता सहकार्य गर्न सकिने आशय प्रकट गरेकाे हुनाले रविसँग भएकाे प्रचण्डकाे टेलिफाेन कुराकानीलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ । उसाे त प्रचण्डकाे सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले राम्रो नतिजा ल्याएपछि लामिछानेलाई बधाई दिएकाे जनाएकाे छ ।

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका टेलिफाेन कुराकानी केही दिन अगाडि नै भएको हो ।

अघिल्लाे प्रतिनिधिसभाबाट १० पुस २०७९ मा प्रचण्ड नेतृत्वमा सरकार गठन हुँदा रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए । प्रचण्डकाे सत्ता ढलेर काङ्‍ग्रेसकाे समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ‌ओलीकाे सरकार गठन भएपछि सहकारी ठगीकाे जाँचबुझ गर्न गठित उच्चस्तरीय समितिकाे सिफारिसकाे आधारमा रवि जेल पुग्दा पनि प्रचण्डले रास्वपाले जसरी प्रतिशाेध साँधिएकाे भनेर रवि र रास्वपाप्रति नरम देखिएका थिए ।

यसबीच रास्वपा दुई तिहाइ नजिककाे सरकार गठनकाे सङ्‍घारमा छँदा प्रचण्ड र रविबीच टेलिफाेन कुराकानी हुनु चासाेकाे विषय बनेकाे छ ।

चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयाेगकाे निर्देशन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेकाहरुलाई चुनावी खर्च सार्वजनिक गर्न  निर्वाचन आयोगले निर्देशन दिएकाे छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को उपदफा (५) बमोजिम निर्वाचन प्रचार प्रसारमा गरेको खर्चको विवरण सार्वजनिक गर्न आयाेगले भनेकाे हाे ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारले र समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले चुनावी खर्च सार्वजनिक गर्नुपर्छ ।

केही उम्मेदवारले मात्रै हालसम्म खर्च विवरण सार्वजनिक गरेका छन् । देशभर ३ हजार ४०६ जना उम्मेदवार थिए । समानुपातिकतर्फ पनि दलहरुबाट उम्मेदवारहरु थिए ।

राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले पैतिस दिनभित्र निर्वाचन खर्च विवरण पेश गरी निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ३१ को उपदफा (२) बमोजिम खर्चको विवरण सम्बन्धित सरोकारवालाको जानकारीको लागि आयोगले तोकेबमोजिम सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राजनीतिक दल र उम्मेदवारले तोकिएको समयसीमाभित्र निर्वाचन प्रचार प्रसारमा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्छ ।

त्यसरी सार्वजनिक गरेको फोटो वा स्क्रिनसट प्रिन्ट गरी वा भरपर्दो प्रमाण संलग्न गरी निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले आफ्नो जिल्लामा रहेको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्छ ।

निर्वाचन खर्चको विवरण नबुझाए वा सार्वजनिक नगरे आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिमसम्बन्धित पार्टी र उम्मेदवारलाई कारबाही गर्ने गरेको छ ।

‌ओलीका पिता माेहनप्रसादकाे अन्त्येष्टी पशुपति आर्यघाटमा गरिँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदैछ। ‌ओलीकाे सचिवालयका अनुसार अहिले केहीबरेमा दाहसंस्कार गरिने भएकाे छ ।

पशुपति आर्यघाट लानुअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि गुन्डुस्थित ओली निवासमा राखिएको थियो। श्रद्धाञ्‍जलीका लागि पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललगायत नेताहरु पुगेका थिए ।

अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यसहितले अस्पतालमै पुगेर मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान ३ बजेतिर गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो।

स्वर्गीय ओलीका दुई छोरा  र तीन छोरी छन्।

जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीकाे मृत्यु

काठमाडौं । नेपाली सेनाकाे हेलिकप्टरबाट उद्दार गरिएकी महिलाकाे मृत्यु भएकाे छ ।

जुम्लाकाे तिला गाउँपालिका वडा नं. ३ कि १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको मृत्यु भएकाे हाे ।

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाे थियाे ।

लगत्तै सेनाकाे हेलिकप्टरमार्फत उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो ।

उपचारकाे क्रममा राति १ बजे उनको मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ ।

घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो ।

तर, प्रतिष्ठानमा शल्यक्रिया गरिए पनि थप समस्या देखिएपछि उनलाई थप उपचारका लागि सुर्खेत लैजानुपर्ने अवस्था आएको थियोे ।

 

‘गगन सरकार’काे सपना चकनाचुर : काङ्‍ग्रेसकाे सर्मनाक हारले राजीनामाकाे दबाबमा गगन

काठमाडौं । ‘अबकी बार, गगन सरकार’ चुनावअघि चर्को नारा लाग्यो । उता रास्वपाले ‘अबकी बार, बालेन सरकार’ को नारा देशव्यापी गुञ्‍जयमान गरेको थियो ।

कांग्रेस सभापति गगन थापा मधेसबाट निर्वाचित भएर देशकै नेतृत्व गर्न चाहन्थे । उनको दल कांग्रेसबाट उनी भावी प्रधानमन्त्रीमा प्रस्तावित उम्मेदवार थिए ।

संसदीय प्रणाली भएको देशमा भावी प्रधानमन्त्रीका अनुहार देखाएर दलहरू निर्वाचनमा जान्छन्, यस्तोमा कांग्रेसले गगन र रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गर्‍यो र निर्वाचनमा गयो ।

तर, कांग्रेसको निर्वाचनमा सर्मनाकलाग्दो हार भयो । गगन आफैं रास्वपाका अमरेशसँग पराजित भए । अर्को शब्दमा भन्दा प्रधानमन्त्री बन्ने गगन सपना अमरेशले चकनाचुुर बनाइदिए ।

अघिल्लो प्रतिनिधिसभामा ८९ सिटसहित पहिलो दल भएको कांग्रेस दोब्बरभन्दा कम सिट अन्तरले दोस्रो दल भएको छ । अर्थात् प्रत्यक्ष र समानुपातिकमा गरी कांग्रेले ३७ सिट जितेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको लज्जास्पद हार गगन नेतृत्वमा कांग्रेस निर्वाचनमा जाँदा भयो ।

जबकि, विशेष महाधिवेशन गरेर आफूहरू बदलिएको र बदलिएको कांग्रेसको नेतृत्व गर्दै देश बदल्ने शंखघोष गगनले गरेका थिए ।

तर, रास्वपाले देशव्यापी अभूतपूर्व जनमत प्राप्त गरी दुई तिहाइ नजिकको शक्तिशाली सरकार गठन गर्न लाग्दा गगन भने राजीनामाको दबाब थेगिरहेका छन् ।

भनिन्छ, राजीनामा दिने मुुडमा छन् । राजीनामा भने आएको छैन । पार्टीभित्र खासगरी निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूले गगनको राजीनामा जोड्तोडले मागिरहेका छन् ।

गगनको नेतृत्वमाथि प्रश्न उठाइरहेका छन् । विशेष महाधिवेशनमार्फत तत्कालीन सभापति शेरबहादुर देउवालाई हटाएर थापालाई नेतृत्वमा ल्याउने कदमको औचित्य सकियो भनिरहेका छन् ।

उनीहरूको भनाइमा पार्टीले निर्वाचनअघि नेतृत्व परिवर्तन गरेर नयाँ ऊर्जा ल्याउने अपेक्षा गरे पनि त्यसको परिणाम सकारात्मक आउन सकेन ।

खासगरी देउवापक्षीय नेता जितजंग बस्नेत, दुजाङ शेर्पालगायतले गगनको सभापतिबाट राजीनामा मागिरहेका हुुन् । उनीहरूका अनुसार पार्टीलाई पुनर्गठन र आगामी राजनीतिक यात्राका लागि नयाँ ढंगले अघि बढाउन नेतृत्वले जिम्मेवारी लिनुपर्ने अवस्था आएको छ ।

यद्यपि कांग्रेसभित्र सबै नेताहरूको धारणा एउटै भने छैन । थापा निकट नेताहरूले भने अहिले राजीनामा माग्नु हतारो हुने तर्क गर्दै नेतृत्वलाई समय दिनुपर्ने बताएका छन् ।

पार्टीका उपसभापति विश्वप्रकाश शर्मा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलगायत नेताहरू गगनले राजीनामा दिनु नहुने भन्दै गगनको बचाउमा उत्रिएका छन् ।

उनीहरूसहित गगनपक्षीय नेताहरू कांग्रेसले निर्वाचनमा प्राप्त गरेको परिणाममा देउवालाई दोष दिइरहेका छन् ।

तर, देउवापक्षीय नेताहरूले गगनको राजीनामा नै अन्तिम विकल्प भनिरहेका छन् । यस्तोमा गगनले हालै उपसभाति विश्वप्रकाश शर्मासँगै निकट केही नेतासँग छलफल गरेका छन् । छलफलपछि उनको राजीनामा तत्कालका लागि रोकिएको देखिएको छ ।

यद्यपि, राजनीतिक विश्लेषकहरूका अनुसार गगनले चुनावी कमान्ड र दलीय कमान्ड गरेको बेला कांग्रेस यो परिणामले पार्टीभित्र नेतृत्व, रणनीति र संगठनात्मक संरचनाबारे व्यापक बहस सुरु हुने संकेत देखिएको छ। विगतमा पनि निर्वाचन परिणामपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको विषयले तीव्रता पाउने गरेको इतिहास छ।

विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेर नयाँ पुस्तालाई जिम्मेवारी दिइएपछि कांग्रेसले पुनः सशक्त रूपमा उदाउने अपेक्षा गरिएको थियो। तर हालको निर्वाचन परिणामले पार्टीभित्र निराशा र असन्तुष्टि बढाएको देखिन्छ।

अब कांग्रेसभित्र आगामी दिनमा नेतृत्वको विषय, संगठन पुनर्गठन तथा राजनीतिक रणनीतिबारे गम्भीर बहस हुने निश्चित जस्तै देखिएको छ।

सभापति थापाले राजीनामा दिने वा नेतृत्वमै रहेर पार्टीलाई पुनः संगठित गर्ने भन्ने विषयले निकट भविष्यमा कांग्रेस राजनीतिमा महत्त्वपूर्ण मोड ल्याउन सक्ने आकलन गरिएको छ।

प्रतिनिधिसभामा बर्चश्‍व गुमाउँदै नेपालका कम्युनिस्ट पार्टीहरू (भिडियाे)

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले आगामी संसद्मा कम्युनिस्ट दलहरूले स्पष्ट वर्चश्व गुमाउने भएका छन् ।

२०६४ यताका हरेक संसद्मा बहुमतमा रहने कम्युनिस्ट दलहरू भने यसपटक अल्पमतमा पुग्ने देखिएको छ ।

आगामी प्रतिनिधिसभामा नेकपा एमालेको २५ र नेपाली कम्युनिस्ट पार्टीको १७ सिट गरी ४२ सिट मात्रै हुने भएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा अल्पमत हो ।

सर्वाधिक १८२ सिटमा गैरकम्युनिस्ट दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ । रास्वपाले अभूतपूर्व रूपमा विजयी हासिल गर्दै दुई तिहाईको एकल सरकार गठन गर्ने स्पष्ट जनादेश प्राप्त गरेको छ ।

अर्को गैरकम्युनिस्ट दल नेपाली कांग्रेसको ३७ सिट भएको छ । श्रम संस्कृति पार्टीको सात सिट र राप्रपाको पाँच सिट हुने भएको छ । स्वतन्त्र सांसद डा. महावीर पुन पनि गैरकम्युनिस्ट हुन् ।

यसले गर्दा अब प्रतिनिधिसभामा २ सय ३३ जना सांसद गैरकम्युनिस्ट हुँदा ४२ जना मात्रै कम्युुनिस्ट हुने भएको छ ।

पहिलो संविधानसभा २०६४ मा ६०१ सदस्यमध्ये ३७० जना कम्युनिस्ट सभासदहरू थिए । त्यसबेला नेकपा माओवादीको मात्रै २२९ सिट र एमालेको १०८ सिट थियो ।

नेकपा माले, जनमोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत, नेपाल मजदुर किसान पार्टी, नेकपा संयुक्त लगयात दलको सिट ३३ थियो । गैरकम्युनिस्टहरू २३१ जना सभासद थिए ।

२०७० को दोस्रो संविधानसभामा पनि कम्युनिस्ट पार्टीहरूको वर्चश्व थियो । त्यसबेला ६०१ सभासदमध्ये २८२ जना कम्युनिस्ट सभासद थिए । एमालेको १८४, माओवादीको ८३ सिट छँदा अन्य साना कम्युनिस्ट दलहरूको सिट १५ थियो ।

२०७४ को प्रतिनिधिसभामा त एमाले र माओवादीको सिट संख्या दुई तिहाइ नजिक थियो । एमालेको १२१ र माओवादीको ५३ सिटमा जनमोर्चा र नेमकिपाको गरी २ सिट जोड्दा १७६ सिट कम्युनिस्टहरूको थियो ।

२०७९ को निर्वाचनमा पनि कम्युनिस्टहरू अल्पमतमा परेका थिए । एमालेको ७८ र माओवादीको ३२, नेकपा एसको १०, जनमोर्चासँगै नेमकिपाको गरी २ जोड्दा १२२ सांसद थिए । यसपटक भने कम्युनिस्टहरूको बिजोक देखिएको छ ।

राजनीतिक विश्लेषक भीम भुर्तेल कम्युनिस्टहरू अल्पमतमा पर्दैै जानु उनीहरूले आफ्नो वर्ग नै भुल्दै जानुको परिणाम हो । श्रमजीवी, मजदुर र किसान वर्गसँग कम्युनिस्ट पार्टीहरूको सम्बन्ध टुटेकाले नेपालका कम्युनिस्टहरू विस्तारै अस्तित्व संकटको दिशामा अघि बढेको उनको विश्लेषण छ ।

नेपालको पहिलो संसद् २०१५ मा १०५ सांसदमध्ये ४ जना कम्युनिस्ट थिए । २०४८ मा २०५ सदस्यीय प्रतिनिधिसभा छँदा एमालेको ६८, संयुक्त जनमोर्चा नेपालको ९, नेकपा संयुक्त र नेमकिपाको २/२ गरी कुल ८१ जना सांसद थिए । यो प्रतिनिधित्व तुलनात्मक रुपमा बढ्दो हो ।

२०५१ मा त संसद्मा पहिलोपटक कम्युनिस्ट पार्टी एमाले पहिलो भएको थियो । एमालेको ८८ जना सांसद हुँदा नेमकिपाको ४ जोड्दा ९२ जना थियो । २०५६ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका ७१, राष्ट्रिय जनमोर्चाको ५, संयुक्त जनमोर्चा नेपालको १ र नेपाल मजदुर किसान पार्टीको ३ गरी ८० जना सांसद थिए ।

तर, २०६४ यता कम्युनिस्टहरूको संसद्मा वर्चश्व हुने गरेको थियो । यसपटक भने वर्चश्व गुमेको छ ।

नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल पनि कम्युनिस्टहरू विस्तारै आफ्नो वर्गबाट अलग हुँदै गएको र त्यसकै परिणति अहिलेको निर्वाचन परिणाम भएको बताउँछन् ।

पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द बैद्य, नारायण बिलास जोशी र मोतीदेवी श्रेष्ठ नेपालमा कम्युनिस्ट पार्टीका संस्थापकहरू हुन् ।

निरङ्कुश राणाकाल छँदा स्थापित पार्टीले श्रमजीवी, मजदुर र किसान वर्गको हित गर्ने लक्ष्य राखेको थियो । देशलाई समाजवादीको दिशामा लाने मार्गचित्र कोरेका थिए ।

तर, २०१५ यताको संसद्मा क्रमशः प्रतिनिधित्वको आकार बढ्दै गयो, सरकार पनि कम्युनिस्टहरूले २०५१ यता पटकपटक गठन गरे ।

मनमोहन अधिकारी, पुष्पकमल दाहाल, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईलगायत प्रधानमन्त्री बने ।

सत्तामा पुगेन पनि आधारभूत वर्गको सेवा नगर्दै सत्ता र शक्तिको खेलमा रमाउँदै जाँदा अन्ततः कम्युनिस्ट पार्टीहरू जनअनुुमोदित हुन क्रमशः असफल हुँदै स्पष्ट अल्पमतको दिशामा अघि बढेका छन् ।