`

‌ओलीका पिता माेहनप्रसादकाे अन्त्येष्टी पशुपति आर्यघाटमा गरिँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदैछ। ‌ओलीकाे सचिवालयका अनुसार अहिले केहीबरेमा दाहसंस्कार गरिने भएकाे छ ।

पशुपति आर्यघाट लानुअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि गुन्डुस्थित ओली निवासमा राखिएको थियो। श्रद्धाञ्‍जलीका लागि पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललगायत नेताहरु पुगेका थिए ।

अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यसहितले अस्पतालमै पुगेर मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान ३ बजेतिर गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो।

स्वर्गीय ओलीका दुई छोरा  र तीन छोरी छन्।

जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीकाे मृत्यु

काठमाडौं । नेपाली सेनाकाे हेलिकप्टरबाट उद्दार गरिएकी महिलाकाे मृत्यु भएकाे छ ।

जुम्लाकाे तिला गाउँपालिका वडा नं. ३ कि १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको मृत्यु भएकाे हाे ।

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाे थियाे ।

लगत्तै सेनाकाे हेलिकप्टरमार्फत उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो ।

उपचारकाे क्रममा राति १ बजे उनको मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ ।

घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो ।

तर, प्रतिष्ठानमा शल्यक्रिया गरिए पनि थप समस्या देखिएपछि उनलाई थप उपचारका लागि सुर्खेत लैजानुपर्ने अवस्था आएको थियोे ।

 

‘गगन सरकार’काे सपना चकनाचुर : काङ्‍ग्रेसकाे सर्मनाक हारले राजीनामाकाे दबाबमा गगन

काठमाडौं । ‘अबकी बार, गगन सरकार’ चुनावअघि चर्को नारा लाग्यो । उता रास्वपाले ‘अबकी बार, बालेन सरकार’ को नारा देशव्यापी गुञ्‍जयमान गरेको थियो ।

कांग्रेस सभापति गगन थापा मधेसबाट निर्वाचित भएर देशकै नेतृत्व गर्न चाहन्थे । उनको दल कांग्रेसबाट उनी भावी प्रधानमन्त्रीमा प्रस्तावित उम्मेदवार थिए ।

संसदीय प्रणाली भएको देशमा भावी प्रधानमन्त्रीका अनुहार देखाएर दलहरू निर्वाचनमा जान्छन्, यस्तोमा कांग्रेसले गगन र रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गर्‍यो र निर्वाचनमा गयो ।

तर, कांग्रेसको निर्वाचनमा सर्मनाकलाग्दो हार भयो । गगन आफैं रास्वपाका अमरेशसँग पराजित भए । अर्को शब्दमा भन्दा प्रधानमन्त्री बन्ने गगन सपना अमरेशले चकनाचुुर बनाइदिए ।

अघिल्लो प्रतिनिधिसभामा ८९ सिटसहित पहिलो दल भएको कांग्रेस दोब्बरभन्दा कम सिट अन्तरले दोस्रो दल भएको छ । अर्थात् प्रत्यक्ष र समानुपातिकमा गरी कांग्रेले ३७ सिट जितेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको लज्जास्पद हार गगन नेतृत्वमा कांग्रेस निर्वाचनमा जाँदा भयो ।

जबकि, विशेष महाधिवेशन गरेर आफूहरू बदलिएको र बदलिएको कांग्रेसको नेतृत्व गर्दै देश बदल्ने शंखघोष गगनले गरेका थिए ।

तर, रास्वपाले देशव्यापी अभूतपूर्व जनमत प्राप्त गरी दुई तिहाइ नजिकको शक्तिशाली सरकार गठन गर्न लाग्दा गगन भने राजीनामाको दबाब थेगिरहेका छन् ।

भनिन्छ, राजीनामा दिने मुुडमा छन् । राजीनामा भने आएको छैन । पार्टीभित्र खासगरी निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूले गगनको राजीनामा जोड्तोडले मागिरहेका छन् ।

गगनको नेतृत्वमाथि प्रश्न उठाइरहेका छन् । विशेष महाधिवेशनमार्फत तत्कालीन सभापति शेरबहादुर देउवालाई हटाएर थापालाई नेतृत्वमा ल्याउने कदमको औचित्य सकियो भनिरहेका छन् ।

उनीहरूको भनाइमा पार्टीले निर्वाचनअघि नेतृत्व परिवर्तन गरेर नयाँ ऊर्जा ल्याउने अपेक्षा गरे पनि त्यसको परिणाम सकारात्मक आउन सकेन ।

खासगरी देउवापक्षीय नेता जितजंग बस्नेत, दुजाङ शेर्पालगायतले गगनको सभापतिबाट राजीनामा मागिरहेका हुुन् । उनीहरूका अनुसार पार्टीलाई पुनर्गठन र आगामी राजनीतिक यात्राका लागि नयाँ ढंगले अघि बढाउन नेतृत्वले जिम्मेवारी लिनुपर्ने अवस्था आएको छ ।

यद्यपि कांग्रेसभित्र सबै नेताहरूको धारणा एउटै भने छैन । थापा निकट नेताहरूले भने अहिले राजीनामा माग्नु हतारो हुने तर्क गर्दै नेतृत्वलाई समय दिनुपर्ने बताएका छन् ।

पार्टीका उपसभापति विश्वप्रकाश शर्मा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलगायत नेताहरू गगनले राजीनामा दिनु नहुने भन्दै गगनको बचाउमा उत्रिएका छन् ।

उनीहरूसहित गगनपक्षीय नेताहरू कांग्रेसले निर्वाचनमा प्राप्त गरेको परिणाममा देउवालाई दोष दिइरहेका छन् ।

तर, देउवापक्षीय नेताहरूले गगनको राजीनामा नै अन्तिम विकल्प भनिरहेका छन् । यस्तोमा गगनले हालै उपसभाति विश्वप्रकाश शर्मासँगै निकट केही नेतासँग छलफल गरेका छन् । छलफलपछि उनको राजीनामा तत्कालका लागि रोकिएको देखिएको छ ।

यद्यपि, राजनीतिक विश्लेषकहरूका अनुसार गगनले चुनावी कमान्ड र दलीय कमान्ड गरेको बेला कांग्रेस यो परिणामले पार्टीभित्र नेतृत्व, रणनीति र संगठनात्मक संरचनाबारे व्यापक बहस सुरु हुने संकेत देखिएको छ। विगतमा पनि निर्वाचन परिणामपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको विषयले तीव्रता पाउने गरेको इतिहास छ।

विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेर नयाँ पुस्तालाई जिम्मेवारी दिइएपछि कांग्रेसले पुनः सशक्त रूपमा उदाउने अपेक्षा गरिएको थियो। तर हालको निर्वाचन परिणामले पार्टीभित्र निराशा र असन्तुष्टि बढाएको देखिन्छ।

अब कांग्रेसभित्र आगामी दिनमा नेतृत्वको विषय, संगठन पुनर्गठन तथा राजनीतिक रणनीतिबारे गम्भीर बहस हुने निश्चित जस्तै देखिएको छ।

सभापति थापाले राजीनामा दिने वा नेतृत्वमै रहेर पार्टीलाई पुनः संगठित गर्ने भन्ने विषयले निकट भविष्यमा कांग्रेस राजनीतिमा महत्त्वपूर्ण मोड ल्याउन सक्ने आकलन गरिएको छ।

प्रतिनिधिसभामा बर्चश्‍व गुमाउँदै नेपालका कम्युनिस्ट पार्टीहरू (भिडियाे)

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले आगामी संसद्मा कम्युनिस्ट दलहरूले स्पष्ट वर्चश्व गुमाउने भएका छन् ।

२०६४ यताका हरेक संसद्मा बहुमतमा रहने कम्युनिस्ट दलहरू भने यसपटक अल्पमतमा पुग्ने देखिएको छ ।

आगामी प्रतिनिधिसभामा नेकपा एमालेको २५ र नेपाली कम्युनिस्ट पार्टीको १७ सिट गरी ४२ सिट मात्रै हुने भएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा अल्पमत हो ।

सर्वाधिक १८२ सिटमा गैरकम्युनिस्ट दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ । रास्वपाले अभूतपूर्व रूपमा विजयी हासिल गर्दै दुई तिहाईको एकल सरकार गठन गर्ने स्पष्ट जनादेश प्राप्त गरेको छ ।

अर्को गैरकम्युनिस्ट दल नेपाली कांग्रेसको ३७ सिट भएको छ । श्रम संस्कृति पार्टीको सात सिट र राप्रपाको पाँच सिट हुने भएको छ । स्वतन्त्र सांसद डा. महावीर पुन पनि गैरकम्युनिस्ट हुन् ।

यसले गर्दा अब प्रतिनिधिसभामा २ सय ३३ जना सांसद गैरकम्युनिस्ट हुँदा ४२ जना मात्रै कम्युुनिस्ट हुने भएको छ ।

पहिलो संविधानसभा २०६४ मा ६०१ सदस्यमध्ये ३७० जना कम्युनिस्ट सभासदहरू थिए । त्यसबेला नेकपा माओवादीको मात्रै २२९ सिट र एमालेको १०८ सिट थियो ।

नेकपा माले, जनमोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत, नेपाल मजदुर किसान पार्टी, नेकपा संयुक्त लगयात दलको सिट ३३ थियो । गैरकम्युनिस्टहरू २३१ जना सभासद थिए ।

२०७० को दोस्रो संविधानसभामा पनि कम्युनिस्ट पार्टीहरूको वर्चश्व थियो । त्यसबेला ६०१ सभासदमध्ये २८२ जना कम्युनिस्ट सभासद थिए । एमालेको १८४, माओवादीको ८३ सिट छँदा अन्य साना कम्युनिस्ट दलहरूको सिट १५ थियो ।

२०७४ को प्रतिनिधिसभामा त एमाले र माओवादीको सिट संख्या दुई तिहाइ नजिक थियो । एमालेको १२१ र माओवादीको ५३ सिटमा जनमोर्चा र नेमकिपाको गरी २ सिट जोड्दा १७६ सिट कम्युनिस्टहरूको थियो ।

२०७९ को निर्वाचनमा पनि कम्युनिस्टहरू अल्पमतमा परेका थिए । एमालेको ७८ र माओवादीको ३२, नेकपा एसको १०, जनमोर्चासँगै नेमकिपाको गरी २ जोड्दा १२२ सांसद थिए । यसपटक भने कम्युनिस्टहरूको बिजोक देखिएको छ ।

राजनीतिक विश्लेषक भीम भुर्तेल कम्युनिस्टहरू अल्पमतमा पर्दैै जानु उनीहरूले आफ्नो वर्ग नै भुल्दै जानुको परिणाम हो । श्रमजीवी, मजदुर र किसान वर्गसँग कम्युनिस्ट पार्टीहरूको सम्बन्ध टुटेकाले नेपालका कम्युनिस्टहरू विस्तारै अस्तित्व संकटको दिशामा अघि बढेको उनको विश्लेषण छ ।

नेपालको पहिलो संसद् २०१५ मा १०५ सांसदमध्ये ४ जना कम्युनिस्ट थिए । २०४८ मा २०५ सदस्यीय प्रतिनिधिसभा छँदा एमालेको ६८, संयुक्त जनमोर्चा नेपालको ९, नेकपा संयुक्त र नेमकिपाको २/२ गरी कुल ८१ जना सांसद थिए । यो प्रतिनिधित्व तुलनात्मक रुपमा बढ्दो हो ।

२०५१ मा त संसद्मा पहिलोपटक कम्युनिस्ट पार्टी एमाले पहिलो भएको थियो । एमालेको ८८ जना सांसद हुँदा नेमकिपाको ४ जोड्दा ९२ जना थियो । २०५६ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका ७१, राष्ट्रिय जनमोर्चाको ५, संयुक्त जनमोर्चा नेपालको १ र नेपाल मजदुर किसान पार्टीको ३ गरी ८० जना सांसद थिए ।

तर, २०६४ यता कम्युनिस्टहरूको संसद्मा वर्चश्व हुने गरेको थियो । यसपटक भने वर्चश्व गुमेको छ ।

नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल पनि कम्युनिस्टहरू विस्तारै आफ्नो वर्गबाट अलग हुँदै गएको र त्यसकै परिणति अहिलेको निर्वाचन परिणाम भएको बताउँछन् ।

पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द बैद्य, नारायण बिलास जोशी र मोतीदेवी श्रेष्ठ नेपालमा कम्युनिस्ट पार्टीका संस्थापकहरू हुन् ।

निरङ्कुश राणाकाल छँदा स्थापित पार्टीले श्रमजीवी, मजदुर र किसान वर्गको हित गर्ने लक्ष्य राखेको थियो । देशलाई समाजवादीको दिशामा लाने मार्गचित्र कोरेका थिए ।

तर, २०१५ यताको संसद्मा क्रमशः प्रतिनिधित्वको आकार बढ्दै गयो, सरकार पनि कम्युनिस्टहरूले २०५१ यता पटकपटक गठन गरे ।

मनमोहन अधिकारी, पुष्पकमल दाहाल, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईलगायत प्रधानमन्त्री बने ।

सत्तामा पुगेन पनि आधारभूत वर्गको सेवा नगर्दै सत्ता र शक्तिको खेलमा रमाउँदै जाँदा अन्ततः कम्युनिस्ट पार्टीहरू जनअनुुमोदित हुन क्रमशः असफल हुँदै स्पष्ट अल्पमतको दिशामा अघि बढेका छन् ।

नेशनल भोलेन्टियर्स फोर्स प्रमुख श्रेष्ठद्वारा निर्वाचन परिणाम स्वीकार, रास्वपालाई बधाई

काठमाडौं । नेकपा एमालेनिकट नेशनल भोलेन्टियर्स फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले हालै सम्पन्‍न प्रतिनिधिसभा निर्वाचन २०८२ को परिणामलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्।

श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपाली जनताले व्यक्त गरेको अभिमत लोकतन्त्रको सुदृढताको प्रतीक भएको उल्लेख गरेका छन्।

उनले भदाै २३ र २४ गते भएको जेन-जी विद्रोहपछि अपहरित भएको संविधानलाई सही ट्र्याकमा ल्याउने उद्देश्यले लोकतन्त्र, संविधान र विधिको शासनको रक्षार्थ एमाले निर्वाचनमा सहभागी भएको बताएका छन्।

विज्ञप्तिमा हालै सम्पन्‍न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभूतपूर्व जनमत प्राप्त गरेको उल्लेख गर्दै श्रेष्ठले सो पार्टीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले परिवर्तन र सुशासनको नारामा रास्वपालाई प्राप्त जनमतलाई व्यवहारमा परिणत गर्नुपर्ने पनि बताएका छन्।

‘जनताले आभास गर्ने परिवर्तन, भ्रष्टाचारमुक्त समाज र प्रशासनिक सुधारका पक्षमा काम हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नत्र यो अभिमतलाई आगामी निर्वाचनमा जनताले दण्डित गर्नेछन्।’

श्रेष्ठले राजनीतिमा हार र जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनसेवाको संकल्प कहिल्यै समाप्त नहुने बताएका छन्। निर्वाचन परिणामलाई पार्टीका लागि एउटा महत्वपूर्ण ऐना भएको उल्लेख गर्दै उनले यसलाई जिम्मेवारीपूर्वक स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

विज्ञप्तिमा सम्पूर्ण पार्टी पंक्तिलाई हतास नहुन आग्रह गर्दै धैर्य, संयम र अनुशासनका साथ कमी–कमजोरीहरूको निर्मम समीक्षा गरी संगठनात्मक संरचना, कार्यशैली र पद्धतिमा समयानुकूल सुधार गर्नुपर्ने धारणा राखिएको छ।

श्रेष्ठले विगतका अनुभवबाट पाठ सिक्दै पार्टीलाई अझ दृढ, परिष्कृत र ऊर्जाशील रूपमा अघि बढाउने अवसरका रूपमा निर्वाचन परिणामलाई लिनुपर्ने बताएका छन्। जनताको भरोसा पुनः जित्‍न नयाँ कार्यशैली र नयाँ उत्साह’का साथ जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

त्यस्तै, राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाप्रति संगठन दृढ रहेको उल्लेख गर्दै उनले राष्ट्रको प्रगति र जनहितका लागि सरकारले गर्ने सकारात्मक कामलाई समर्थन गर्ने बताएका छन्।

तर, सरकारबाट जनभावना विपरीत, भ्रष्टाचारजन्य वा राष्ट्रिय हितमा आँच पुग्ने कदम चालिएमा सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी पनि उनले दिएका छन्।

रास्वपाले बाचापत्रकाे इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ – अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्‍न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले लामो समयदेखि स्थिर सरकारको आवश्यकता औँल्याउँदै आएको बताउँदै त्यो पूरा हुन लागेको बताए । उनकाअनुसार स्थिर सरकारले स्थायी नीति ल्याएर आर्थिक गतिविधि बढाउन सक्छ ।

अहिले करिब दुई तिहाई बहुमत नजिकको सरकार बन्‍न लागेको भन्दै ढकालले निजी क्षेत्रसँग सम्बन्धित विषयहरू रास्वपाको वाचापत्रमा पनि समावेश गरिएको स्मरण गराए । उनले रास्वपाले वाचापत्रमार्फत निजी क्षेत्रमैत्री प्रतिवद्धताहरू व्यक्त गरेको उल्लेख गर्दै ती प्रतिवद्धताहरू इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्ने बताए ।

ढकालकाअनुसार ती प्रतिबद्धताहरू प्रभावकारी रूपमा लागू भएमा छोटो समयमा नै धेरै काम गर्न सम्भव हुनेछ । बाह्य तथा आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने खालका नीतिहरू अबको सरकारले लिनुपर्ने समेत उनले बताए ।

‘राजनीतिक परिवर्तनको हिसाबले नयाँ सरकार आउँदैछ । वास्तवमा निजी क्षेत्रले सधैँ भनिरहने एउटा स्थायी सरकार चहियो जुन सरकारले स्थिर नीति ल्याउन सकोस् भन्‍ने निजी क्षेत्रले धेरै पहिलैदेखि उठाउँदै आएको विषय थियो । अहिले करिब दुई तिहाईको सरकार आएको छ । निजी क्षेत्रका इस्युहरुलाई रास्वपाको वाचापत्रमा पनि उल्लेख गरिएको छ,’ उनले भने, ‘निजीक्षेत्र मैत्री प्रतिवद्धताहरु रास्वपाले वाचापत्रमा गरेको छ । अब ती प्रतिवद्धताहरु इमानदारीपूर्वक लागू हुनुपर्छ । ती प्रतिवद्धताहरु लागू भयो भने छोटो समयमा धेरै काम गर्न सकिन्छ ।’

अध्यक्ष ढकालले कतिपय भूतप्रभावी कानुनका कारण लगानीकर्तामा निराशा आइरहेको बताउँदै त्यस्ता कानुन लागू नहुने सुनिश्चितता राज्यले गर्नुपर्ने बताए ।

ढकालकाअनुसार भूतप्रभावी कानुन लागू नहुने सुनिश्चितता भएमा देशमा छिट्टै आर्थिक गतिविधि बढाउन सकिन्छ र आन्तरिक रोजगारी सिर्जना गर्न पनि मद्दत पुग्छ ।

आर्थिक गतिविधि बढेसँगै राजश्‍व संकलन पनि बढ्ने र त्यसबाट पूर्वाधार निर्माणमा समेत सहयोग पुग्नेछ । आर्थिक गतिविधि विस्तार हुँदा छोटो समयमा नै आम नेपालीको चाहना पूरा गर्न सकिने विश्वास समेत उनकाे छ ।

झापा-५ मा पराजयपछि ओलीको प्रतिक्रिया- जनताको फैसला शिरोधार्य गर्नु कर्तव्य हाे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा-५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत बिहीबार प्रतिक्रिया दिँदै उनले यसपटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको बताएका छन्। साथै आफ्नो पार्टीले पनि अपेक्षित परिणाम हासिल गर्न नसकेको उनले उल्लेख गरेका छन्।

लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने भन्दै उनले जनताको निर्णयलाई शिरोधार्य गर्नु आफ्नो र पार्टीको कर्तव्य भएको बताएका छन्।

ओलीले सूर्य चिन्हमा मतदान गरेर आफ्नो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। मतदाताको विश्वास नै आफ्नो शक्ति भएको उल्लेख गर्दै उनले साथ र समर्थनप्रति आभार व्यक्त गरेका हुन्।

निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने उनले बताएका छन्। आगामी दिनमा पनि जनताकै बीचमा रहेर जनताकै हितका लागि काम गर्दै जाने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

ओलीले मत दिने, साथ दिने र विश्वास गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

इनिसा विककाे बलात्कारपछि हत्या घटनाका दोषीलाई कडा कारबाही गर्न प्रचण्डकाे माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतमा १६ वर्षीया बालिका इनिशा विकको सामूहिक बलात्कारपछि हत्या गरेकाे घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रचण्डले उक्त आपराधिक घटनाले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

उनले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गर्न सरकारसँग माग गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने बताएका छन् । यस्ता जघन्य अपराधलाई कुनै पनि हालतमा सह्य गर्न नसकिने भन्दै उनले पीडितले न्याय पाउनुपर्नेमा जोड दिएका छन्।

प्रचण्डले राज्यका सम्बन्धित निकायले घटनालाई गम्भीरतापूर्वक लिएर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताएका छन्।

भक्तपुर-१ मा नेमकिपा किल्ला भत्काउने रास्वपाका रुकेश रञ्‍जित काे हुन् ?

चुनाव नलडी हार मान्थे– कांग्रेस, एमाले भक्तपुर– १ मा । त्यहाँ जित्न कल्पनासम्म गर्दैनथे ती दलहरु । महाभारत नै मानिन्थ्यो त्यहाँ जित्नुलाई ।

त्यो नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को शक्तिशाली किल्ला थियो । तर, यसपटक भत्काइदिए– रुकेश रञ्जितले । नेपालको उत्तर कोरियासमेत भन्ने भक्तपुर–१ मा विजयी झण्डा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेशले फहराएपछि उनी को हुन् ? चासो बढेको छ ।

रुकेश विगतमा एमालेनिकट थिए । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा समेत सक्रिय भएर उनले राजनीति गरे । तर, राजनीतिबाट पार नलाग्ने ठानेर विश्राम लिए ।

व्यापारमा हात हाले । इलेक्ट्रोनिक्स पसल खोले । सामाजिक सेवामा जोडिए । रक्तदाताको पहिचान बनाए । कतिसम्म भने भक्तपुरका कुनै अस्पतालमा रगत अभाव भए रुकेशलाई सम्झिन्थे बिरामीका आफन्तहरू । रुकेश जुटाइदिन्थे रगत । बाँच्थे बिरामी ।

मावनीय सहायताको क्षेत्रमा क्रियाशील उनी भक्तपुर–१ को समस्याबारे जानकार पनि थिए । यो क्षेत्रमाभक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका पर्छ ।

खासगरी चाँगुुनारायण नगरवासीहरूको एउटै दुःखेसो थियो– हामीलाई नेमकिपाले भोट बैंक बनायो ।

उसो त नेमकिपाबाट पटकपटक निर्वाचित सांसद प्रेम सुवालले सम्पदा क्षेत्रमा विकास नगरेका होइनन्, तर चाँगुनारायण मृत सहरजस्ताे हुँदा थप कदम नचालेकाे, चाँगुनारायणवासीकाे समस्या सुवालले कहिल्यै सदनमा नउठाएकाे, पर्यटन कर उठाएकाे तर जनताले लाभ नलिएकाे जस्ता गुनासाे रुकेशले थाहा पाएका थिए ।

यही असन्तुष्टिलाई रुकेशले चुनाव जित्ने बलियाे आधार ठाने । सामाजिक व्यक्तित्वकाे पहिचान बनाएका उनीप्रति असन्तुष्ट नगरवासीहरुकाे विश्वास जागृत भयाे ।

अन्तत: अप्रत्याशित रुपमा चुनाव जिते । कतिसम्म भने नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल एकपटक पनि अग्रता लिएनन् ।

विगतमा काङ्‍ग्रेस, एमाले, मा‌ओवादीलगायत दलका उम्मेदवारहरुविरुद्ध सुवाल कम्तीमा ३५ हजार मतान्तरमा जित निकाल्थे । यसपटक सुवाल रास्वपाका रुकेशसँग ५ हजार २८९ मतसहित पराजित भए । निर्वाचन आयाेगका अनुसार रुकेशले ३३ हजार ४३६ मत प्राप्त गर्दा सुवालले २८ हजार १४७ मत पाए ।

यहाँ २०४८२०५१ऽ २०५६ऽ २०६४ र २०७० सम्म लगातार नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव जितेका थिए । २०७४ र २०७९ मा प्रेम सुवाल निर्वाचित भएका थिए । तर यसपटक उनले रास्वपाका रुकेशसँग पराजय बेहाेरे ।

सांसद निर्वाचित भएपछि रुकेशले भक्तपुरका लागि केही महत्वाकांक्षी योजनाहरू अघि सारेका छन्।

उनका प्रमुख योजनाहरूमा पाँच वर्षभित्र भक्तपुरमा विश्वविद्यालय स्थापना गर्ने, ७०० शय्याको अत्याधुनिक अस्पताल निर्माण गर्ने र स्थानीय उद्योग–व्यवसायलाई पुनर्जीवित गर्ने समावेश छन्।

त्यस्तै, हाल औद्योगिक क्षेत्रका रूपमा चिनिएको ठाउँलाई ‘क्राफ्ट भिलेज’ मा रूपान्तरण गर्ने, सल्लाघारी क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी वा सम्मेलन केन्द्र निर्माण गर्ने योजना पनि उनले अघि सारेका छन्।

रुकेशको दृष्टिमा भक्तपुरको पर्यटन अहिले ‘आउने–घुम्ने–फर्किने’ मोडलमा सीमित छ।

उनले पर्यटकलाई कम्तीमा एक रात बस्ने वातावरण बनाउने र घरघरमा होमस्टे सञ्चालन गरेर स्थानीयलाई प्रत्यक्ष आम्दानी हुने व्यवस्था मिलाउने योजना सुनाएका छन्।

तीन दशक लामो राजनीतिक किल्ला भत्काएर संसद् पुगेका रुकेशका लागि अबको मुख्य चुनौती भनेको काममार्फत आफ्नो विजयलाई प्रमाणित गर्नु हो।

यस पटक युवावर्गमा नयाँ राजनीतिक विकल्पको खोजी र परिवर्तनको चाहनाले उनलाई जिताएको विश्लेषण गरिए पनि आगामी चुनावमा परिणाम कामले तय गर्ने उनले स्वीकार गरेका छन्।

भक्तपुर–१ मा नयाँ राजनीतिक अध्याय सुरु गरेका रुकेश रञ्जित अब परिवर्तनको अपेक्षा बोकेका मतदाताको विश्वास कायम राख्न सक्ने कि सक्दैनन्, त्यो आगामी पाँच वर्षको कामले निर्धारण गर्नेछ।

 

मध्यपूर्व युद्ध संकट : इरानको तेहरानमा ‘अम्लीय वर्षा’, स्वास्थ्य संकटको चेतावनी

तेहरान । कल्पना गर्नुहोस् त– आकाशबाट कालो वर्षा अर्थात् अम्लीय वर्षा भयो भने के होला ?

यस्तो वर्षा विषाक्त हुन्छ । चिकित्सकहरूका अनुसार मानव स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउँछ ।

हालै इरानको तेल भण्डारण केन्द्रहरूमा भएको इजरायल र अमेरिकाको हवाई आक्रमणपछि राजधानी तेहरानसहित आसपासका क्षेत्रमा कालो वर्षा वा अम्लीय वर्षा भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

त्यस्तो वर्षाले तेहरानमा वातावरणीय मात्रै होइन, मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने भन्दै चिन्ता प्रकट भइरहेको छ ।

आक्रमणपछि तेल भण्डारहरूमा लागेको भीषण आगलागीबाट निस्किएको विषाक्त धुवाँले वायुमण्डल प्रदूषित बनाएपछि वर्षासँगै कालो पदार्थ मिसिएको पानी झरेको बताइन्छ ।

हालै तेहरान र आसपासका क्षेत्रमा रहेका कम्तीमा चार तेल डिपो र पेट्रोलियम भण्डारण केन्द्रमा हवाई आक्रमण भएको थियो । ती आक्रमणपछि ठूलो आगलागी हुँदा बाक्लो कालो धुवाँ आकाशमा फैलिएको थियो, जसले राजधानी तेहरानको आकाश धुम्म बनाएको थियो ।

स्थानीय बासिन्दाहरूले शहरभरि बाक्लो धुवाँ र तेलको गन्ध फैलिएको बताएका छन् । धेरै ठाउँमा घर, बाल्कोनी र सवारीसाधनहरूमा कालो धुलो र चिल्लो पदार्थ जमेको देखिएको छ । केही बासिन्दाले त सास फेर्नै गाह्रो हुने अवस्था बनेको बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार तेल डिपोमा लागेको आगोबाट ठूलो मात्रामा हाइड्रोकार्बन, सल्फर अक्साइड र नाइट्रोजन अक्साइडजस्ता रसायन वायुमण्डलमा पुगेका छन् ।

यी रसायनहरू बादलमा पुगेपछि पानीसँग रासायनिक प्रतिक्रिया गरी अम्लीय तत्व बनाउँछन् । त्यसपछि वर्षासँग मिसिएर जमिनमा झर्दा ‘एसिड रेन’ अर्थात् अम्लीय वर्षा हुन्छ ।

यस्तो अवस्थामा पानीमा कालो धुलो, तेलका कण र रासायनिक पदार्थ मिसिएको हुनाले कालो वर्षा हुने बताइएको छ ।

तेहरानमा ठ्याक्कै यस्तै भएको छ । यसपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य जोखिमबारे चेतावनी दिएको छ । विषाक्त कण र रसायनयुक्त वर्षाले टाउको दुख्ने, आँखा पोल्ने, छाला चिलाउने तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न सक्ने बताइएको छ ।

त्यस्तै मानवीय सहायता संस्था इरानीयन रेड क्रेसेन्ट सोसाइटीले नागरिकलाई वर्षाको समयमा घरभित्रै बस्न, शरीर ढाक्ने कपडा लगाउन र दूषित पानीको सम्पर्कबाट टाढा रहन आग्रह गरेको छ । यस्तो वर्षाले छालामा रासायनिक जलन तथा फोक्सोमा गम्भीर असर पार्न सक्ने चेतावनी दिइएको छ ।

भनिन्छ, तेहरानका करिब एक करोड बासिन्दाको दैनिक जीवनमा अम्लिय वर्षाको ठूलो असर परेको छ । धेरै पेट्रोल पम्प बन्द भएका छन् भने केही क्षेत्रमा इन्धन बिक्रीमा सीमितता लगाइएको छ ।

शहरमा प्रदूषणको स्तर अत्यधिक बढेपछि नागरिकलाई मास्क प्रयोग गर्न र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरिएको छ ।

वातावरणविद्हरूका अनुसार तेल भण्डारमा लागेको आगलागीबाट निस्किने धुवाँमा कालो कण, धातु, सल्फर र अन्य विषाक्त पदार्थ मिसिएको हुन सक्छ । यसले दीर्घकालीन रूपमा माटो, पानी र वातावरणलाई प्रदूषित बनाउन सक्छ ।

विशेषज्ञहरूले यस्तो प्रदूषणले भविष्यमा क्यान्सर, श्वासप्रश्वास रोग तथा पारिस्थितिक प्रणालीमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको रिपोर्टमा आधारित

समानुपातिक सिट कुन दलले कति पाउँदैछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मत गणना सकिए पनि कुन दलले कति सिट पाउँछन् भन्ने निर्वाचन आयोगले टुङ्गो लगाउन बाँकी छ । तर, दलहरूले पाउने मोटामोटी सिट सङ्ख्या टुङ्‍गो लागेको छ ।
प्राप्त मत परिणामका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट पाउने देखिएको छ ।
नेपाली काङ्‍ग्रेसले २० सिट पाउने भएको छ । नेकपा एमालेले १६ सिट पाउँदा नेपाली कम्युनिस्ट पार्टीले ९ सिट, श्रम सस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ४/४ सिट पाउने देखिएको छ ।
अन्य दलहरुले भने तीन प्रतिशत थ्रेसहोल्ड पार गर्न नसकेको र प्रत्यक्षमा कम्तिमा १ सिट नजितेकाले समानुपातिक सिट पाउँदैनन् ।

समानुपातिकमा रास्वपाकाे रेकर्ड, करिब ४८ प्रतिशत मत प्राप्त, कांग्रेस दोस्रो र एमाले तेस्रो

काठमाडौ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार सर्वाधिक समानुपातिक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ ।

रास्वपाले ५१ लाख ५० हजार ८५८ मत पाएको हो । यो भनेको कुल मतदानको ४७.९ प्रतिशत हो । देशमा २०६४ सालको संविधानसभा निर्वाचनबाट समानुपातिक निर्वाचन प्रणाली कार्यान्वयनमा आएकोमा कुनै एक दलले यति धेरे मत प्राप्त गरेको थिएन ।

तर, रास्वपाले यसपटक सर्वाधिक मत पायो । अघिल्लो प्रतिनिधिसभामा पहिलो दल रहेको नेपाली कांग्रेसले १७ लाख ५४ हजार ६९५ मत पाएको छ । यो भनेको १६.३ प्रतिशत मत हो ।

नेकपा एमालेले १४ लाख ५२ हजार ७४ मत अर्थात् १३.५ प्रतिशत पाएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ लाख ९ हजार २९० मत पायो । यो मत ७.५ प्रतिशत हो ।

प्रतिनिधिसभामा आएको नयाँ दल श्रम संस्कृति पार्टीले ले ३ लाख ८५ हजार ६८९ अर्थात् ३.५ प्रतिशत मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख ३० हजार ११८ (३.१ प्रतिशत) मत पाएको आयोगले जनाएको छ ।

 

निर्वाचन जितेपछि हर्क साम्पाङ टोलटोलमा, मतदातालाई धन्यवाद दिँदै सुझावको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले मतदाताहरूलाई धन्यवाद दिएका छन् ।

निर्वाचनबाट निर्वाचित गराएर आफूलाई जनताको पक्षमा काम गर्ने अवसर दिएको भन्दै मतदाताहरूप्रति अभारसमेत प्रकट गरे ।

चुनाव क्षेत्रको टोलटोलमा पुगेर मतदाताहरूलाई नमस्कार भन्दै उनले भने, ‘आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनी, भाञ्जाभाञ्जी, जेन–जी सबैलाई धन्यवाद छ, तपाईंहरूले अमूल्य मत दिएर मलाई काम गर्ने अवसर दिनुभएको छ ।’

उनले मतदाताहरूसँग सल्लाह र सुझाव पनि मागेका छन् । कुनै माग र गुनासा भए त्यो पनि आफूलाई दिन उनले आग्रह गरे ।

आफू प्रतिनिधिसभा सदस्य निर्वाचित भए पनि जनतालाई नबिर्सिने र आफू जनतातिरै फर्किएर आउने बताए ।

साम्पाङले यही २१ फागुनमा भएको निर्वाचननमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार शरिन ख्युङ्बा तामाङ (गोमा)लाई पराजित गर्दै संसदको यात्रा तय गरेका हुन् ।

अमेरिका-इजरायलकाे आक्रमणमा १३ सय इरानी सर्वसाधारणकाे मृत्यु

काठमाडौं । फेब्रुअरी २८ यता अमेरिका र इजरायलले इरानमा गरेको सैन्य आक्रमणमा १ हजार ३ सय भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ ।

अन्य ९ हजार ६ सय ६९ नागरिकस्थलहरू ध्वस्त भएका छन् । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत तथा स्थायी प्रतिनिधि अमिर सइद इरावानीले ध्वस्त भएका नागरिक स्थलहरूमा ७ हजार ९ सय ४३ आवासीय घरहरू, १ हजार ६ सय १७ व्यावसायिक र सेवा केन्द्रहरू, ३२ चिकित्सा र औषधि सुविधाहरू, ६५ विद्यालय र शैक्षिक संस्थाहरू, १३ रेड क्रिसेन्ट भवनहरू र धेरै ऊर्जा आपूर्ति सुविधाहरू समावेश छन् ।

इरावानीले नागरिक लक्ष्यहरूमा आक्रमण गरिएका धेरै उदाहरणहरू सूचीबद्ध गरे ।

अन्तर्राष्ट्रिय मञ्‍चमा नेपाली मुद्दा : प्रजनन स्वास्थ्य र न्यायमा पहुँचबारे छलफल

काठमाडौँ । अमेरिकाको न्युयोर्कमा १० मार्च २०२६ मा आयोजित कमिसन अन स्टाटस अफ वुमेनको ७०औँ सत्रअन्तर्गत नेपालको महिला तथा बालिकाको न्यायमा पहुँच तथा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयमा केन्द्रित छलफल कार्यक्रम सम्पन्‍न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिला तथा बालिकाका अधिकार संरक्षणका लागि नेपालमा धेरै कानुनी व्यवस्था गरिए पनि ती व्यवस्थालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न अझै आवश्यक रहेको बताइन्।

उनले कार्यान्वयनका क्रममा विशेषगरी अपाङ्‍गता भएका तथा सीमान्तकृत महिला र बालिकाको अधिकार र पहुँचमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।

बियाेन्ड बेइजिङ कमिटिका अध्यक्ष कृष्णा वाइबाको अध्यक्षतामा आयोजित प्यानल छलफलमा महिला, कानुन र विकास मञ्‍चका कार्यकारी निर्देशक एवम् अधिवक्ता सविन श्रेष्ठले संस्थाले प्रजनन स्वास्थ्य अधिकार तथा अपाङ्‍गता भएका महिला र बालिकाको न्यायमा पहुँच बढाउन कानुनी सहायता कार्यक्रम सञ्‍चालन गर्दै आएको जानकारी दिए।

उनले न्यायमा समान पहुँच सुनिश्‍चित गर्न अपाङ‍्‍गतामैत्री र पहुँचयुक्त न्यायिक निर्देशिकाको आवश्यकता रहेको पनि औँल्याए।

कार्यक्रमको सञ्‍चालन मच्छे गुरुङले गरेका थिए। सो अवसरमा अधिवक्ता रुतु थापाले आदिवासी महिलाको न्यायमा पहुँचका विषयमा प्रकाश पारेकी थिइन् भने पवित्रा सुनारले ‘कल फर एक्सन’ प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राधिका आर्याल, सह–सचिव आभा श्रेष्ठ तथा न्युयोर्कस्थित नेपालको संयुक्त राष्ट्रसंघीय मिसनका द्वितीय सचिव सुनिता लाकान्द्री लगायतको उपस्थिति रहेको थियो।

रास्वपा कार्यकर्ताको आक्रमण र ह्यारेसमेन्ट धम्कीपछि अनेरास्वियु नेतृ प्रीतिले दिइन् साइबरमा उजुरी

काठमाडौं। नेकपा एमालेकाे भ्रातृ संगठन अनेरास्वियुकी सचिवालय सदस्य प्रीति दाहालले आफूलाई सामाजिक सञ्‍जालमा धम्की आएपछि नेपाल प्रहरीकाे साइबर ब्यूरोमा उजुरी दर्ता गरेकी छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनको बेला एमालेबाट प्रचार-प्रसारमा सक्रिय भएकी दाहालमाथि राजनीतिक पूर्वाग्रहसहित आक्रमणको धम्की आउन थालेपछि उनले कानुनी कदम चाल्न बाध्य भएको बताएकी छन्।

दाहालका अनुसार केही दिन यता सामाजिक सञ्‍जालमा राष्ट्रिय स्वतन्त्र पार्टीका केही समर्थकबाट निरन्तर गालीगलौज, मानहानी र ज्यान मार्ने आशयका धम्की आएका थिए।

उनले आफूले राख्दै आएको राजनीतिक विश्‍वास र तर्कलाई प्रतिवाद गर्न नसकेपछि आरोपितहरुले डर देखाएर ‘चुप पार्ने’ प्रयास गरेको आरोप लगाइन्।

‘कायरहरूको धम्किले विचारको मशाल निभ्दैन। राजनीतिक आस्था र निष्ठा आक्रमणको विषय होइन तर धम्की आएपछि कानुनी बाटो रोज्नु नै विवेकसम्मत निर्णय हो’ उनले भनिन्।

दाहालले लामो समयदेखि आफूले संयमता अपनाउँदै आएको भए पनि बारम्बार उक्साहट र व्यक्तिगत तहमा पुगेका अपमानजनक अभिव्यक्तिले आफूलाई कानुनी बाटो रोज्‍न बाध्य पारेको स्पष्ट गरिन्।

‘म माथिको प्रहार मेरो विचारमाथिको प्रहार हो, तर्कमा हार्नेहरू नै हिंसा र गालीगलौजको बाटोमा लाग्छन्,’ दाहालले भनिन्,’यही कारण आज मैले विद्युतीय कारोबार ऐन, २०६३ र प्रचलित कानुनअनुसार साइबर ब्युरोमा उजुरी दिएको छु।’

उनले सामाजिक सञ्‍जालमा व्यक्तिको मानमर्दन गर्ने, गालीगलौज गर्ने, ज्यान मार्ने चेतावनी दिने वा परिवारलाई लक्षित गरी आक्रमण गर्नेजस्ता कार्य स्वीकार्य नहुने भन्दै कानुनले यस्तो अपराधलाई पातालबाट भए पनि खोजेर कारबाही गर्ने दृढता व्यक्त गरिन्।

दाहालका अनुसार प्रविधिको नाममा कसैको सुरक्षामाथि खेलबाड गर्नु राज्यले सजिलै नजरअन्दाज गर्ने विषय होइन।

उनले थप भनिन्,’कानुनी र राजनीतिक दुवै मोर्चाबाट सत्य र न्यायका लागि लड्न तयार छु। अपराधीहरूको पहिचान अब राज्य संयन्त्रले गर्छ। म डराउने होइन, लड्ने मान्छे हुँ।’ दाहालले धम्की दिने व्यक्तिहरूको नक्कली ‘क्रान्तिकारिता’ कानुनी कठघरामा उभिएपछि समाप्त हुने दाबी गरिन्।

दाहालले पराजित मानसिकता बोकेका व्यक्तिहरूको शैलीलाई समाजले अस्वीकार गर्नुपर्ने धारणा राख्दै आपसी सम्मान, तर्क र लोकतान्त्रिक संस्कृतिको रक्षा सबैको जिम्मेवारी भएको बताइन्। उनका अनुसार, राजनीतिक असहमति सत्रूता होइन तर धम्की र हिंसात्मक प्रवृत्ति समाजले सहन नमिल्ने अवस्थासम्म पुगेको छ।

पछिल्लो समय नेपाली समाजमा साइबर आक्रमण र बुलिङका घटनाहरु बढ्दै गएको पाइन्छ।

प्रतिनिधिसभा निर्वाचनको वातावरणमा राजनीतिक ध्रुवीकरणसँगै सामाजिक सञ्‍जालमा भ्रामक सूचना, अभद्र टिप्पणी र लक्षित हिनतामूलक अभिव्यक्तिहरू बढिरहेको तर

सरोकारवालाहरुले पनि निरन्तर सुरक्षा चुनौतीको विषयमा ध्यानाकर्षण गराइरहेका छन् ।

कस्ताे रहन्छ आज र भाेलिकाे माैसम मूड ?

काठमाडौं । देशभर आगामी दुई दिन मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । केही स्थानमा भने हिमपातको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

विभागले जारी गरेको मौसम बुलेटिनअनुसार पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण यस्तो मौसम रहने प्रक्षेपण गरिएको हो ।

महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ ।

बुधबार (आज) दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ ।

बिहीबार (भाेलि) बिहीबार पनि देशभर सामान्य बदली रहने अनुमान गरिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका साथै मधेश र बागमती प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ । राति पहाडी भू–भागमा सामान्य बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

मौसमविद्हरूले आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली रहने भएकाले मेघगर्जन, चट्याङ र हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन् ।

स्याङ्जाकाे बिरुवा-८ का वडाध्यक्ष आलेकाे निधन

काठमाडौं । मिर्गाैला फेल भएपछि स्याङ्जाको बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष नवीनकुमार आलेको निधन भएको छ । उपचारकाे क्रममा पोखरास्थित आस्था अस्पतालमा आज उनकाे निधन भएकाे हाे ।

चार दिनअघि मात्रै उनी बिरामी परेका थिए । गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार बिरामी भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएकाे थियाे । अस्पतालले उनकाे  मिर्गौला फेल भएकाे जानकारी दिएकाे थियाे ।

उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा बिरुवा-८ बाट वडाध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी एमाले बिरुवा गाउँपालिका कमिटीका पूर्वउपसचिव समेत हुन् । उनकाे निधनले गाउँपालिका तथा स्थानीय समुदायमा शोक छाएको छ ।

मोदीको पोस्टमा बालेनको कमेन्ट

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र सभापति रवि लामिछानेलाई टेलिफोनमार्फत बधाई दिएपछि बालेनले उनको पोस्टमा कमेन्ट गर्दै नेपाल-भारत सम्बन्ध थप मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।

सोमबार साँझ मोदीले रास्वपाका दुवै नेतासँग टेलिफोन संवाद गरेको जानकारी फेसबुकमार्फत सार्वजनिक गरेका थिए। उनले फेसबुकमा लेखेका थिए, ‘मैले निर्वाचनमा रास्वपाको जितका लागि दुवै नेतालाई बधाई दिएको छु । सँगै नयाँ बन्ने सरकारका लागि शुभकामना दिँदै भारतीय सरकारका तर्फबाट साझा प्रगति, समृद्धि र जनकल्याणका लागि प्रतिबद्धता पनि जनाएको छु ।’

रास्वपाका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनी झापा-५ बाट निर्वाचित बालेनले मोदीकै उक्त पोस्टमा प्रतिक्रिया दिँदै भारतसँगको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री नरेन्द्र मोदी ज्यु । नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’

बालेनलाई प्रधानमन्त्री बनाउने सहमतिबारे अर्याल अनविज्ञ ! राजुको चेतावनी– खुरापाती नगर्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ प्रस्तावित भावी प्रधानमन्त्री हुन् ।

झापा–५ बाट निर्वाचित भएर आएसँगै उनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । तर, के उनी प्रधानमन्त्री बन्छन् नै ? त्यसका लागि उनलाई सभापतिले रवि लामिछानेले संसदीय दलको नेता बनाउँछन् ? संशय उत्पन्न भएको छ ।

यस्तो संशय उत्पन्न हुनुमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको अभिव्यक्ति जिम्मेवार छ ।

हालै उपसभापति अर्यालले निर्वाचित भएपछि बालेनलाई प्रधानमन्त्री बनाउने सहमतिको कार्यान्वयन हुन्छ भन्ने पत्रकारको प्रश्नमा आफू त्यसबारे अनविज्ञ भएको जसरी प्रस्तुत भएका थिए । उनले भनेका थिए, ‘त्यो सम्झौतामा के लेखिएको छ, त्यो हेर्नुपर्छ । मलाई सबै कण्ठ छैन ।’

अर्याल यसपछि आलाेचित भए । त्यसपछि आफ्नाे पूर्ववत् अभिव्यक्तिलाई सच्याउँदै भने, ‘सम्झौतामा जे लेखिएको छ, त्यसमा दायाँबायाँ हुँदैन ।’

१३ पुसमा सभापति रवि लामिछाने र बालेन्द्रबीच भएको सहमतिमा बालेन्द्रलाई प्रधानमन्त्री बनाउने उल्लेख छ । बालेन नै संसदीय दलको नेता हुने पनि स्पष्ट रुपमा भनिएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,’ सात बुँदे सहमतिमा उल्लेख छ ।

तर, निर्वाचनपछि दुई तिहाई बहुमत प्राप्त गर्न लागेको रास्वपामा एकथरी नेताले बालेन्द्रलाई संसदीय दलको नेता र प्रधानमन्त्री हुनबाट रोक्न लागेको गाइँगुुइँ चर्चाबीच उपसभापति डीपी अर्यालको अभिव्यक्तिले संशय प्रकट गरेको हो । अर्याल सभापति रवि लामिछानेसँग निकट नेता हुन् । कतै उनले सभापति लामिछानेको भाषा त बोलेका होइनन् ? आशंका उत्पन्न भएको छ ।

यस्तोमा बालेन काठमाडौँ महानगरको प्रमुख छँदा महानगर प्रहरीको प्रमुख रहेका र हालै काठमाडौं–३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेले बालेन प्रधानमन्त्री बन्ने दाबी गर्दै खुुरापाती कुरा नगर्न पार्टी उपसभापति अर्याललाई चेतावनी दिएका छन् ।

उनले मंगलबार भने, ‘हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह, त्यसमा कन्फ्युजन नहोस् । कमा, फुलिस्टप, दायाँ बायाँ कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि तहको पदाधिकारीलाई छुट छैन ।’

सभापति लामिछाने नै प्रधानमन्त्री बन्नुपर्ने भनेर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि सुझाएका छन् ।

त्यसमाथि सम्झौतामा के लेखिएको छ, त्यो हेर्नुपर्छ भन्ने उपसभापति अर्यालको अभिव्यक्तिले भावी प्रधानमन्त्रीको विषयले रास्वपामा मिल्ती छैन कि भन्ने देखाएको छ ।

माेबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाकाे मृत्यु

काठमाडौं । माेबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा एक जनाकाे मृत्यु भएकाे छ । मृतक पञ्‍चाङ सदा हुन् ।

राजगढ गाउँपालिका-५ मलेखपुर बस्ने २७ वर्षीया सदालाई माेबाइल चार्ज गर्ने क्रममा साेमबार करेन्ट लागेकाे थियाे ।

करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनकाे गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

हाेटलमा ३० वर्षीय युवक मृत फेला

काठमाडौं । साेलुखुम्बुकाे खुम्बु पासाङ्ल्हामु गाउँपालिका-२ सुर्केस्थित एक हाेटलमा युवक मृत फेला परेका छन् ।

होटल एभरेष्टमा बस्ने ३० वर्षीय लालवीर राई सोमबार मृत अवस्थामा फेला परेका हुन् । उनी माप्य दुधकोशी
गाउँपालिका-१ जुभिङकाे भएकाे प्रहरीले जनाएकाे छ ।

उनकाे मृत्यु घटनाबारे प्रहरीले अनुसन्धान थालेकाे छ ।

कोशीमा श्रम संस्कृति पार्टीको तहल्का, पानी आन्दाेलनदेखि संसद्सम्म हर्क साम्पाङ

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा कोशीको पूर्वी पहाड र पश्चिम पहाड मात्रै होइन, पूर्वी तराईका जिल्लाहरूमा पनि तहल्का पिट्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा देशव्यापी अभूतपूर्व जनलहर चल्दा पनि कांग्रेस, एमाले, नेकपा र राप्रपा निकै कमजोर देखिएको बेला पहिलोपटक निर्वाचन लडेको श्रम संस्कृति पार्टीले तीन सिट जित्यो ।

सुनसरी–१ मा पार्टी अध्यक्ष हर्क साम्पाङ, भोजपुरमा ध्रुव राई र खोटाङमा आरेन राई निर्वाचित भए ।

यी तिनैवटा क्षेत्रमा पटकपटक नेकपा एमालेले चुनाव जितेको थियो । तर, यसपटक श्रम संस्कृतिका उम्मेदवारहरूले विजयी झण्डै फहराउँदै संसद्को यात्रा तय गरे ।

समानुपातिक मत समाचार तयार गर्दासम्म ३ लाख ६० हजार पुग्नै लागेको छ । जबकि प्रत्यक्षमा एक सिट र समानुपातिकमा कुल सदर मतको तीन प्रतिशत प्राप्त गर्नुपर्ने थ्रेसहोल्डको व्यवस्था भएकोमा तीन प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै राष्ट्रिय दल बनेको छ ।

यो चुनावमा कुनै नयाँ दल प्रतिनिधिसभामा प्रवेश गर्दैछ भने त्यो श्रम संस्कृति पार्टी मात्रै हो । मधेसकेन्द्रित राजनीतिक दलहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, डा. सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीदेखि रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले आधार इलाका मधेसमै पराजय बेहोर्नुपर्‍यो ।

२०४८ यताको हरेक संसदमा देखिने दुई साना वामपन्थी दल नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा पनि चुनावमा हारे ।

तर, धरानका पूर्वप्रमुखसमेत रहेका हर्क साम्पाङको दल श्रम संस्कृति पार्टी कोशीको भुगोलमा प्रभावशाली नयाँ शक्ति देखा पर्‍यो ।

कतिसम्म भने यो दलका उम्मेदवारहरू पाँचथर, इलाम–१ र २ सँगै मोरङ–२ मा निकटतम प्रतिद्वन्द्वी भए । पाँचथर र इलाम–१ मा कांग्रेस उम्मेदवार, इलाम–२ मा उम्मेदवार र मोरङ– २ रास्वपाका उम्मेदवारलाई टक्कर दिए ।

धनकुटामा एमाले उम्मेदवार र उदयपुर–२ मा रास्वपा उम्मेदवारसँग श्रम संस्कृति पार्टीका उम्मेदवारहरूले उछिनपाछिन गरे ।

अझ रोचक त के भयो भने यसपटकको प्रतिनिधिसभा निर्वाचनको ‘इपिसेन्टर’ मानिएको झापा–५ मा अघिल्ला निर्वाचनहरूमा दोस्रो दल बन्ने कांग्रेसलाई चोथो स्थानमा धकेल्दै श्रम संस्कृति तेस्रो शक्ति बन्यो, जहाँ रास्वपा उम्मेदवार बालेन शाहले चुनाव जिते ।

पूर्वी तराईका जिल्लाहरू सुनसरी, मोरङ, झापा, पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, ओखलढुुंगादेखि सोलुुखुम्बुसम्मै श्रम संस्कृति पार्टीले दबदबा कायम गर्‍यो ।

नवनिर्वाचित सांसदसमेत रहेका पार्टी अध्यक्ष हर्कराज साम्पाङले हालै स्टाटसमार्फत् चुनाव प्रचार ६ महिनासम्म चुनाव प्रचारको अवधि भएको भए धेरै सिट जित्ने आशय प्रकट गरेका छन् । राजनीतिक विश्लेषकहरू भने हर्कले अलिक संयमतापूर्वक निर्वाचन प्रचार गरेको भए अझै धेरै सिट जित्ने विश्लेषण गर्छन् ।

उसो त श्रम संस्कृति पार्टीले गठन भएको करिब तीन महिनामा चुनावी माहोल तताएर कांग्रेस, एमाले, नेकपा, रास्वपादेखि मधेसकेन्द्रित दलहरूलाई असिनपसिन पार्ने जनशक्ति आर्जन गर्नु चानचुने होइन ।

जे होस् अब हर्क साम्पाङ र उनको दलको प्रवेश प्रतिनिधिसभामा भएको छ ।

पानी मुद्दाले नेता !

साम्पाङ ती नेता हुन्- जो केही वर्षअघिसम्म धरानकाे सडकमा माइक बोकेर एक्लै कराउँदै हिँड्ने विद्रोही पात्र थिए । हठी र अराजक भन्दै मानिसहरू बेवास्ता गर्थे ।

एक्लो आन्दोलनबाट सुरु भएको उनको राजनीतिक पाइला विधायकका रूपमा कानुन बनाउने जिम्मेवारीतर्फ सोझिएको छ ।

साम्पाङको कथा भने राजनीतिबाट सुरु भएको होइन । ०६४ सालतिर उनले ‘मिसिङ हर्ट’ नामको एल्बम निकालेर कलाकार बन्ने प्रयास गरेका थिए । साङ्गितिक क्षेत्रमा टिक्न सकेनन् ।

अचेल पनि कहिलेकाही उनी गितार बजाउँदै गीत गाउँछन् । श्रम संस्कृति पार्कमा दुई महिनाअघिसम्म उनकै गीत बज्थ्यो ।

यसले पनि उनी एकबेला साङ्गितिक क्षेत्रमा हाम्फालेका पात्र हुन् भन्ने देखाउँछ । उसो त उनको जीवनले अनेक मोड लियो । कहिले धरानका भाषा केन्द्रमा अंग्रेजी भाषा पढाए । कहिले इराक र अफगानिस्तानतिर वैदेशिक रोजगारीमा गए ।

विदेशबाट फर्केपछि भने उनको स्वभाव झन् विद्रोही भयो । धरानमा देखिएको भ्रष्टाचार, बेथिति र सरकारी बेवास्ताविरुद्ध उनी सडकमा एक्लै आन्दोलन गर्न थाले । हाते माइक बोकेर एक्लै भाषण छाँट्दै हिँडे । त्यहीबेला उनले आफ्नो उपनाम राखे– ‘क्रान्ति’ ।

उनले जोडतोडले उठाएको धरानको खानेपानी समस्या हो । पूर्वी सहर धरानमा दशकौँदेखि खानेपानी समस्या थियो । त्यसैलाई मुद्दा बनाएर साम्पाङले जनश्रमदान अभियान सुरु गरे ।

उनले सर्वसाधारणलाई आह्वान गरे, ‘सरकारले गरेन भने हामी आफैँ गर्छौँ ।’ उनलाई साथ दिन धराने जनता तयार भए ।

त्यहीबीच २०७९ मा स्थानीय तहको निर्वाचन भयो । निर्वाचनमा उनले धरान उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिए । स्वतन्त्र उम्मेदवार बनेका उनको प्रचारप्रसार टोली थिएन । एक्लै आफ्नो प्रचार गरेका उनको मूल एजेन्डा नै खानेपानी थियो । अन्ततः कांग्रेस, एमालेलगायत दलहरूलाई चकित पार्दै प्रमुख पदमा निर्वाचित भए ।

नगर प्रमुख भएपछि उनी खानेपानी समस्या समाधानमै तीन वर्ष केन्द्रित भए । शनिबारलाई श्रमबार भन्दै श्रमदान अभियान चलाए । उनलाई धराने जनताले बलियो साथ दिए । ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट पानी ल्याए । त्यस क्रममा आफैं पाइप तान्न पुगे ।

भनिन्छ, दैनिक करिब १०–११ लाख लिटर पानी धरान ल्याइएको छ । यही अभियानले उनलाई एकैपटक राष्ट्रिय चर्चामा ल्यायो ।

साम्पाङको सामाजिक सञ्जालमा १३ लाख फलोअर्स छन् । त्यो उनको बलियो हतियार हो । त्यहीँबाट उनले अभिव्यक्ति दिन्छन्, आलोचना गर्छन् र आफ्ना अभियान प्रचार गर्छन् ।

नेपाली कांग्रेस, एमालेदेखि नयाँ शक्तिसमेत उनको आलोचनाबाट जोगिएका छैनन् । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उसका नेतामाथि पनि उनी खुलेर टिप्पणी गर्दै आएका छन् ।

धरानको आवाज संसद्‍मा

४३ वर्षीय हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको राजनीतिक विचारधारा ‘हर्कवाद’मा आधारित छ ।

हर्कवाद प्रकृति, संस्कृति र प्रविधिमा आधारित मौलिक राजनीतिक दर्शन भएको साम्पाङ बताउँछन् ।

सोही विचारधारा अंगिकार गरेका हर्क र उनका दल सांसदहरू अब प्रतिनिधिसभामा प्रवेश गर्दैछन् । यद्यपि, हर्कको राजनीतिक शैली सधैं विद्रोही, ठाडो र कहिलेकाहीँ विवादास्पद मानिन्छ ।

त्यसैले आम जिज्ञासा छ– धरानका सडकमा सुनिएको विद्रोही आवाज अब प्रतिनिधिसभामा कत्तिको गर्जिनेछ ?

कतिपयले उनलाई ‘सशक्त प्रतिपक्षीय नेता’ हुने आकलन गरिरहेका छन् । २०६४ यताका संसद्मा राप्रपा नेता कमल थापा, राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र पछिल्ला संसद्हरूमा सोही पार्टीका नेता प्रेम सुवाललाई प्रभावशाली प्रतिपक्षी नेताका रूपमा हेरिन्थ्यो ।

अबको संसद्मा साम्पाङलाई त्यही नेताहरूको कोटीमा देख्न पाइने आशा जनतामा देखिन्छ ।

अर्थमन्त्री खनालले फिर्ता गरे कुटनीतिक राहदानी

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफूसँग रहेको कूटनीतिक राहदानी (रातो पासपोर्ट) परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाएका छन्।

मन्त्री खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत यो जानकारी सार्वजनिक गरेका हुन्। अर्थमन्त्रीको पदमा रहँदा प्राप्त उक्त कूटनीतिक राहदानीको प्रयोजन सकिएपछि आफूले त्यसलाई सम्बन्धित विभागमा फिर्ता गरेको उनले स्पष्ट पारेका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं डीए०००२७१० को प्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु ।’

यसका साथै उनले अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पनि सोही कूटनीतिक राहदानी फिर्ता भएको विषयमा जानकारी गराएका छन्।

भुटानी प्रधानमन्त्री ताेब्गेकाे रवि र बालेनलाई बधाई

काठमाडौं । भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई भनेका छन् ।

‘नेपालको आम चुनावमा भारी विजय हासिल गर्नुभएकोमा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ,’ भुटानी प्रधानमन्त्रीले लेखेका छन्, ‘म सफल चुनावको लागि नेपाली जनतालाई पनि बधाई दिन्छु ।’

प्रधानमन्त्री तोब्गेले आगामी सरकासँग दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर रहेको पनि उल्लेख गरेका छन् ।

‘हामी दुई देशहरू बीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर छु,’ शुभकामना सन्देशमा उनले लेखेका छन् ।

 

सरकारका राम्रा कामलाई समर्थन, गलत भए सडकबाट खबरदारी गर्छाैँ : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित मत प्राप्त गर्न नसके पनि जनताबाट प्राप्त माया, विश्वास र आशाले आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने बताएका छन्।

मङ्‍गलबार जारी वक्तव्यमा उनले भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै उठेको जनआवाजपछि सम्पन्न भएको चुनावले देशमा नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको सन्देश दिएको बताए। उनले पार्टीप्रति सद्भाव राख्दै देशभर मतदान गर्ने मतदाता, समर्थक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

‘भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै उठेको जेन-जी विद्रोहपछि सम्पन्न चुनावमा उज्यालो नेपाल पार्टीप्रति माया, विश्वास र आशा राख्दै देशभरि हाम्रा उम्मेदवारहरूलाई मतदान गर्नुहुने सम्पूर्ण मतदाता, समर्थक र शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ घिसिङले वक्तव्यमा भनेका छन्।

उनले चुनावी अभियानमा अहोरात्र खटिएका पार्टीका नेता, कार्यकर्ता तथा सहयोगीहरूप्रति पनि विशेष धन्यवाद व्यक्त गरेका छन्। साथै विषम् परिस्थितिका बीच पनि चुनाव सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्‍याउने प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, सुरक्षा निकाय, कर्मचारी तथा सम्बन्धित सबैप्रति आभार प्रकट गरेका छन्।

घिसिङका अनुसार यसपटकको चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजपछि आएको परिवर्तनको अवसर थियो। उनले देशलाई नाराभन्दा पनि स्पष्ट दृष्टिकोण, ठोस योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन्।

‘देशलाई नाराले होइन-दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक छ,’ उनले भने, ‘समस्या घोषणामा होइन, कार्यान्वयनको कमजोरीमा छ।’

उनले अहिले पनि विकास निर्माणका काम सुस्त हुनुको मुख्य कारण निर्णय गर्न नसक्ने प्रणाली भएको बताए। एउटा पुल बनाउन वर्षौँ लाग्ने, ठेकेदारले काम नगरे पनि कारबाही हुन नसक्ने अवस्था विकासको बाधक बनेको उनको भनाइ छ।

ऊर्जा क्षेत्रको अनुभव स्मरण गर्दै घिसिङले साहसी निर्णय र दृढ नेतृत्व भएमा असम्भवजस्तो देखिने काम पनि सम्भव हुने उदाहरण नेपालले देखिसकेको बताए। ‘हामीले १८ घण्टासम्मको लोडसेडिङको अँध्यारो पनि देख्यौँ, तर दृढ नेतृत्व र निर्णयले त्यो अँध्यारोलाई चिरेर उज्यालो सम्भव हुन्छ भन्ने प्रमाणित गर्‍यौँ,’ उनले उल्लेख गरे।

घिसिङले छोटो समयमै देशका करिब ९९ प्रतिशत घरधुरीमा विद्युत् पहुँच पुर्‍याउने, नेपाल विद्युत् प्राधिकरणलाई पुनर्जीवित गर्ने तथा ऊर्जा क्षेत्रलाई निर्यातमुखी बनाउने प्रयासहरू भएको बताए।

यसैबीच उनले निर्वाचनबाट परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठूलो जनमत प्राप्त भएको उल्लेख गर्दै जनताको आकांक्षा पूरा गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्।

‘सरकारबाट हुने राम्रा कामको समर्थन र गलत काम भएमा उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जानेछ,’ उनले भने।

घिसिङले चुनावी परिणामले निराश नहुन आग्रह गर्दै उज्यालो नेपाल निर्माणको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

ट्रम्पकाे बाेलीले घट्याे तेलकाे मूल्य !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएका छन् ।

उनकाे यस्ताे अभिव्यक्ति सार्वजनिक भएपछि तेलको अन्तर्राष्ट्रिय मूल्यमा गिरावट आएको छ । ट्रम्पले मध्यपूर्वको तनावबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेर युद्ध चाँडै समाप्त हुने बताएका थिए ।

इरान, इजरायल र अमेरिकाबीच चर्किएको द्वन्द्वका कारण कच्चा तेलको मूल्य एकै पटक २५ प्रतिशतले बढेको थियो । तर, अहिले भने अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।

अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुका अनुसार ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ । अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको छ ।

एकै दिन सुनकाे मूल्य बढ्याे ताेलामै ३ हजार ८००

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजार ८०० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे प्रतितोला ३ लाख १३ हजार २०० रूपैयाँमा सुन कारोबार भएको थियाे। आज बढेर छापावाला सुनको मूल्य ३ लाख १७ हजार रूपैयाँमा काराेबार भइरहेकाे हाे।

चाँदीको मूल्य पनि आज तोलामा ३१० रूपैयाँले बढेकाे छ । महासंघकाका अनुसार ताेलामा ५ हजार ७२० रूपैयाँमा किनबेच भइरहेकाे छ । यसअघि हिजाे चाँदी प्रतितोला ५ हजार ४१० रूपैयाँमा कारोबार भएको थियो ।

कस्तो रहन्छ आज र भोलिकाे मौसम मूड ?

काठमाडौं । देशभर आगामी दुई दिन मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । केही स्थानमा भने हिमपातको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

विभागले जारी गरेको मौसम बुलेटिनअनुसार पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण यस्तो मौसम रहने प्रक्षेपण गरिएको हो ।

महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ ।

भाेलि बिहीबार पनि देशभर सामान्य बदली रहने अनुमान गरिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका साथै मधेश र बागमती प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ । राति पहाडी भू–भागमा सामान्य बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

मौसमविद्हरूले आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली रहने भएकाले मेघगर्जन, चट्याङ र हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन् ।

काठमाडौँ विश्वकै प्रदूषित सहरकाे सूचीमा पहिलाे

काठमाडौँ । काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा पुगेको छ ।

वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’ पछिल्लो तथ्याङ्कअनुसार काठमाडौँकाे वायु गुणस्तर सूचकाङ्क १८४ पुगेको छ, जुन जनस्वास्थ्यका हिसाबले निकै अस्वस्थ हाे ।

आज काठमाडौँ उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकेको छ । सर्वसाधारणले प्रत्यक्ष रूपमा प्रदूषणको महसुस गरिरहेका छन् । मानिसहरूले आँखा पोल्ने, घाँटी चिलाउने र श्वासप्रश्वासमा असहजता हुने देखिन्छ ।

काठमाडौँपछि बङ्गलादेशको ढाका १७० एक्यूआईका साथ दोस्रो र भारतको कोलकाता १६९ एक्यूआईका साथ तेस्रो स्थानमा रहेका छन् ।

बढ्दो सवारी साधनको चाप, सडक विस्तारका क्रममा उड्ने धुलो र पछिल्लो समय देशका विभिन्न भागमा लागिरहेको वन डढेलोका कारण काठमाडौँको हावा विषाक्त बन्दै गएको विज्ञहरूको भनाइ छ ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा र पहिलेदेखि नै दम वा मुटुको समस्या भएका व्यक्तिहरूका लागि यो अवस्था निकै जोखिमपूर्ण रहेको चिकित्सकहरूको भनाइ छ ।

अन्तिममा श्रम संस्कृतिका विनोद कांग्रेसका निस्कलसँग पराजित भए

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई इलाम-१ मा विजयी भएका छन् ।

उनले श्रम संस्कृति पार्टी र नेकपा एमालेका उम्मेदवारसँग भएको त्रिपक्षीय रोचक प्रतिस्पर्धामा जित निकाले ।

विजयी भएका राईले १४ हजार ५४३ मत प्राप्त गरे । पराजित भएका श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत पाए ।

एमाले उम्मेदवार काजिमान कागतेले ११ हजार ९६६ मत पाएर तेस्रो स्थानमा रहे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६०, नेपाली कम्युनिस्ट पार्टीका रनबहादुर राईले ७ हजार ६६५ मत पाएर पाँचौँ स्थानमा रहे ।

 

गाेरखा-१ बाट रास्वपाका सुदन गुरुङ झण्डै दोब्बर मतले विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ गोरखा क्षेत्र नम्बर-१ मा विजयी भएका छन् ।

२९ हजार ८९६ मतसहित उनी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत प्राप्त गरे ।

निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेकाे निर्वाचन आयाेगले जनाएकाे छ ।

आयाेगका अनुसार चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत मात्र छ ।

धनुषा-१ मा रास्वपाकाे उम्मेदवारी खारेज हुँदा पनि मत बर्सिएपछि के हाेला अब ?

काठमाडौं । धनुषा–१ को निर्वाचन विवादवारे सर्वोच्च अदालतले आगामी आफ्नो प्रारम्भिक दृष्टिकोण दिने भएको छ ।

निर्वाचनकाे दुई दिनअघि १९ फागुनमा रास्वपा उम्मेदवारकाे उम्मेदवारी खारेज भएकाे थियाे । ती उम्मेदवार कर्जा सूचना केन्द्रकाे कालाेसूचीमा परेकाे पाइएपछि आयाेगले उम्मेदवारी खारेज गरेकाे थियाे । तर, रास्वपाकाे घण्टी चिह्नमा अत्यधिक मत परेपछि त्यहाँकाे अन्तिम मत परिणाम सार्वजनिक गर्न निर्वाचन आयाेगले आनाकानी गरेकाे छ ।नेपाली कम्युनिस्ट पार्टीले भने आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएकाे भन्दै उनलाई आयाेगले निर्वाचित भएकाे प्रमाणपत्र नदिएकाे भन्दै आयाेगकाे ध्यानाकर्षण गराएकाे छ ।

यहीबीच सर्वाेच्च अदालतमा किशोरी साह कमलले रिट दायर गरे । रिटमाथि आगामी शुक्रबार सुनुवाइ गर्ने आदेश  भएकाे छ ।

दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेश जारी हुने वा नहुने तय गर्नु उपयुक्त हुने भन्दै सर्वोच्च अदालतले आगामी शुक्रबार दुवै पक्षलाई छलफलका लागि डाकेको छ ।

र, त्यो दिन निर्वाचन आयोगले समेत साहको उम्मेदवारी खारेज गर्नुको निर्णय सम्बन्धित फाइल पेस गर्नुपर्नेछ । सर्वोच्च अदालतले त्यही दिन अन्तरिम आदेश जारी हुने वा नहुनेबारे छलफल र आदेश समेत हुने संकेत गरेको छ ।

इरान युद्धका कारण फिफा विश्वकपको प्ले-अफ खेल स्थगित गर्न माग

बग्दाद । मध्यपूर्वमा दुई सातादेखि जारी युद्धका कारण निकट भविष्यमा हुने फिफा पुरुष विश्वकपको प्ले-अफ खेल स्थगित गर्नुपर्ने माग भएकाे छ ।

यस्ताे माग गर्ने इराकको राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्राहम अर्नोल्ड हुन् । उनले युद्धका कारण  प्ले-अफ चरणको खेल खेल्ने वातावरण नरहेको बताएका छन् ।

उनका अनुसार अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरू भएको युद्धले यतिबेला मध्यपूर्व निकै अशान्त बनेको छ ।

इराकले मार्च ३१ तारिखमा विश्वकपको प्ले-अफ खेल्ने कार्यक्रम रहेको छ । मेक्सिकोको मोन्टेरिमा हुने उक्त खेलमा इराकले बोलिभिया र सुरिनामको सामना गर्नेछ । उक्त खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकपमा स्थान पक्का गर्नेछ ।

विश्वकपको २३ औं संस्करण सन् २०२६ को जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ । उक्त विश्वकपमा ४८ टोलीको सहभागिता रहने छ ।

त्यसमध्ये ४२ टोलीको टुङ्गो लागिसकेको छ । बाँकी ६ टोलीको टुङ्गो भने अन्तरमहादेशीय प्ले–अफ खेलबाट लाग्नेछ । ‘यो खेल हाम्रा लागि निकै महत्त्वपूर्ण छ तर, अहिलेको असहज स्थितिमा प्ले–अफ खेल सारिनु पर्छ,’ प्रमुख प्रशिक्षक अर्नोल्डले भनेका छन् ।

युद्धका कारण हवाई यात्रा जोखिमपूर्ण रहेको तर्क उनले अघि सारेका छन् । ‘अहिले खेलाडी र पदाधिकारीले हवाई यात्रा गर्ने अवस्था छैन । यो कुरा फिफालाई पनि थाहा छ । त्यसैले प्ले–अफ खेल उपयुक्त मितिमा सारियोस् भन्ने हाम्रो माग हो,’ उनले भनेका छन् ।

अर्नोल्ड सन् २०२५ को मेमा इराकको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । इराकलाई विश्वकपको संघारमा पुर्‍याउन उनको भूमिका निकै महत्त्वपूर्ण छ । इराक सन् १९८६ पछि फिफा विश्वकपमा छनोट हुन सकेको छैन ।

‘हामी ४० वर्षपछि विश्वकप खेल्ने अभियानमा छौं । इराकी फुटबलका लागि यो महत्त्वपूर्ण क्षण हो । हाम्रो टोली उत्कृष्ट पनि छ । तर, अहिलेको वातावरण हाम्रा लागि उपयुक्त छैन,’ प्रमुख प्रशिक्षक अर्नोल्ड भन्छन् ।

 

इलाम-१ मा कांग्रेसका राई र श्रम संस्कृतिका नेम्बाङबीच राेचक प्रतिस्पर्धा

काठमाडौं । इलाम-१ काे चुनावी प्रतिस्पर्धा निकै राेचक भइरहेकाे छ । नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच निकै कम मतान्तरकाे प्रतिस्पर्धा भइरहेकाे हाे ।

मत गणना जारी छँदा कांग्रेसका निश्कल राईले १३ हजार ६३१ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार विनाेद नेम्बाङ लिम्बुले १३ हजार २८६ मत पाएका छन् । राई र नेम्बाङबीचकाे मतान्तर ३४५ काे छ ।

नेकपा एमालेका उम्मेदवार काजिमान कागतेले ११ हजार ५६१ मत पाएका छन् । हालसम्म गणना भएकाे मत ६१ हजार १६१ हाे । अब सूर्याेदय नगरपालिकाकाे वडा नम्बर १३ र १५ काे गणना बाँकी छ । यी दुई वडामा मतदान भएकाे करिब २४ सय मत छ ।

यहाँ सुरुवाती अग्रता एमालेका कागतले लिएका थिए । तर, यतिबेला भने कांग्रेसका राईले लगातार अग्रता लिइरहेका हुन् । उनलाई नेम्बाङले पछ्याइरहेका छन् ।

यहाँ यसअघि एमालेका महेश बस्नेत निर्वाचित भएका थिए । त्यसबेला उनले पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनाललाई पराजित गरेका थिए ।

२०७४ अघि भने खनाल पटकपटक निर्वाचित भएका थिए । तर, यसपटक गैरकम्युनिष्ट पार्टीले चुनाव जित्ने छनक देखाएकाे छ ।

नवनिर्वाचित १८ जना राष्ट्रिय सभा सदस्यले लिए पद तथा गाेपनीयताकाे सपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभाका  सांसदहरूले पद तथा गाेपनीयताकाे सपथ ग्रहण गरेका छन् । उनीहरुलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले  सपथ गराए ।

गत माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका थिए । नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्वाचनमा तालमेल भएको थियो । सोही अनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल निर्वाचित भए ।

मधेश प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रन्जित कर्ण र रेखा झा निर्वाचित भएका थिए । बागमती प्रदेशबाट गीता देवकोटा र डा. प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका थिए ।

यसैगरी कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका थिए ।

सम्पूर्ण चुनावी कार्य चैत पहिलाे साता सकिन्छ – निर्वाचन आयाेग

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण कार्यहरू चैतको पहिलो साताभित्र सम्पन्न हुने भएकाे छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैतको पहिलो साताभित्र समानुपातिकतर्फ निर्वाचित हुनेहरूलाई प्रमाणपत्र दिने लगाएतका सम्पूर्ण कामहरू सम्पन्न भइसक्ने जानकारी दिए ।

उनले मंगलबारसम्म समानुपातिकतर्फको सबैतिर गणना भइसक्ने अनुमान आयोगले गरेको बताए ।

प्रवक्ता भट्टराईले मतगणना सम्पन्न भइसकेपछि खसेको सदर मतको सम्बन्धित दलले प्राप्त गरेको मतको प्रतिशतका आधारमा समानुपातिक बन्द सूचीबाट छनोट हुने उमेदवारको नामावली सम्बन्धित दलहरूसँग माग गरिने जानकारी दिए ।

त्यसपछि दलहरूबाट प्राप्त भएका नामलाई क्लस्टरअनुसार रुजु गर्दै निर्वाचित हुने सदस्यहरूको छनोट गर्ने र आयोगमा प्रमाणपत्र दिइने उनले बताए ।

प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूलाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ । निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुर्वतर्फ रास्वपाको अग्रता रहेको छ ।

 

हर्क साम्पाङ नेतृत्वकाे दल श्रम संस्कृति पार्टी राष्ट्रिय दल बन्याे, कटायाे थ्रेसहाेल्ड

काठमाडौं । हर्क साम्पाङ अध्यक्ष रहेकाे श्रम संस्कृति पार्टी राष्ट्रिय दल बनेकाे छ । याे दलले समानुपातिकमा तीन लाख मत कटाएको छ ।

निर्वाचन आयाेगका अनुसार ८८ लाख ४८ हजार १४८ मत गणना हुँदा श्रम संस्कृतिको तीन लाख आठ हजार ६५६ मत पुगेको छ । यो गणना भएको मतको करिब साढे तीन प्रतिशत हो ।

समानुपातिकतर्फ सिट प्राप्त गर्न कुल सदर मतको तीन प्रतिशत भन्दा बढी मत ल्याउनु पर्दछ । प्रत्यक्षमा कम्तिमा १ सिट जित्नुपर्छ ।

श्रम संस्कृति पार्टीले प्रत्यक्षमा तीन सिट जितिसकेकाे छ । त्यसाे हुनाले प्रतिनिधिसभा निर्वाचन लडेकाे पहिलाेपटकमै याे दल राष्ट्रिय दल बनेकाे हाे ।

श्रम संस्कृतिलाई पछ्याइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ९० हजार ७१ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको ४२ लाख, नेपाली कांग्रेसको १४ लाख, नेकपा एमालेको १२ र नेपाली कम्युनिष्ट पार्टीको ६ लाख भन्दा बढी मत आइसकेको छ ।

प्रत्यक्षमा श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ, आरेन राई र ध्रुवराज राई निर्वाचित भइसकेका छन् ।

इलाम–१ मा श्रम संस्कृतिका उम्मेदवार दोस्रो स्थानमा छन् ।

बालेनकाे चुनावी खर्च १४ लाख १७ हजार, २ वटा गाडीकाे १५ दिनकाे भाडा मात्रै २ लाख २३ हजार !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएकाे विवरण निर्वाचन आयाेगमा बुझाएका छन् ।

आयोगमा बुझाइएको विवरणअनुसार सबैभन्दा बढी घरदैलो तथा प्रचार कार्यक्रम सञ्चालनमा खर्च गरिएको देखिएको छ। सो शीर्षकमा ४ लाख ५० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

सवारी साधन भाडा (२ वटा सवारी, १५ दिन) मा २ लाख २३ हजार ५०० रुपैयाँ खर्च गरिएको छ।

पार्टी तथा क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनका लागि पानी खर्च शीर्षकमा १ लाख ९० हजार रुपैयाँ, स्टेशनरी खर्चमा २२ हजार ९८० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

प्रचार-प्रसारका लागि प्रयोग गरिएका सामग्रीतर्फ फ्लेक्स, ब्यानर तथा झण्डा मा १ लाख ७५ हजार ७८४ रुपैयाँ र ब्यानर तथा स्टिकर मा १ लाख १९ हजार ५०५ रुपैयाँ खर्च गरिएको उल्लेख गरिएको छ।

साथै मतदाता प्रशिक्षण कार्यक्रम, खाजा खर्च तथा अन्य व्यवस्थापनका शीर्षकमा पनि रकम खर्च भएको विवरणमा देखिन्छ।

निर्वाचन कानुनअनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि आफूले गरेको खर्चको विवरण तोकिएको समयभित्र सार्वजनिक गरी आयोगमा बुझाउनुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार शाहले आफ्नो निर्वाचन खर्चको विस्तृत विवरण आयोगमा बुझाएका हुन्।

उनी झापा-५ मा यही २१ फागुनमा भएकाे निर्वाचन लडेका थिए । त्यहाँ उनी निर्वाचित भए । अब उनी प्रधानमन्त्री बन्ने बाटाेमा छन् ।

बलात्कार गरेकाे आराेपमा भुटन पक्राउ

काठमाडौं । १७ वर्षीया किशाेरीलाई बलात्कार गरेको आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका-१५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साह छन्ला ।

उनी गएराति पक्राउ परेका हुन् । साहले ती किशाेरीलाई बलात्कार गरेको उजुरीको आधारमा वडा प्रहरी
कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।