`

अवरुद्ध भोजपुर–लेगुवा सडक सञ्चालनमा

भोजपुर । भोजपुरलाई तराईका जिल्लासँग जोड्ने भोजपुर–लेगुवा ६६ किलोमिटर मुख्य सडक एकतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डको विभिन्न ठाउँमा झरेको पहिरो हटाएर यातायात सेवा सञ्चालनमा ल्याएको हो । यातायात अवरुद्ध हुँदा अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन् ।

बर्सातसँगै पहिरो खस्ने, सडक धसिने र दुर्घटनाको सम्भावना उच्च देखिएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । मध्य पहाडी राजमार्गअन्तर्गत देउराली–चखेवा सडक खण्डको शिरदलीमा झरेको ठूलो पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए । यो सडकलाई पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

पेरिसडाँडामा माओवादी महाधिवेशन आयोजक समितिको बैठक {तस्वीरहरु}

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको हो ।

जेनजी आन्दोलनपछि दलहरुमा नेतृत्व परिवर्तनको बहस चर्किरहेको बेला प्रचण्डले पार्टी केन्द्रीय कमिटी भंग गरी आफ्नै अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन गरेका छन् ।

माओवादी केन्द्रले केन्द्रीय कमिटीबाटै समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकताको पहल गर्ने निर्णय गरेको थियो । साथै विचार मिल्ने अन्य दलहरूसँग पनि मोर्चाबन्दीको पहल गर्ने निर्णय गरेको थियो ।

‘ती विषयसँगै समसामयिक राजनीतिका अन्य विषयहरूमा बैठकमा छलफल हुन्छ,’ प्रवक्ता सापकोटाले भने । माओवादीको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी भंग गर्दै मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरिएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक छन् ।

मनाङ यात्रामा मौसम बाधक

मनाङ । हिमाली जिल्ला मनाङ भ्रमणका लागि असोज, कात्तिक र मंसिर महिना उपयुक्त मानिन्छ । यस समयमा मनाङमा पर्यटकको आगमनले भरिभराउ हुने हो । यसवर्ष मनाङमा पर्यटक शून्य नै छ ।

बाह्य पर्यटकको आगमनका लागि जेनजीको आन्दोलनले प्रभाव पारे पनि आन्तरिक पर्यटक आउने अपेक्षा मनाङवासीले गरेका थिए । दसैँको बिदामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने समय हो । यस वर्षको दशैँ बिदामा घुम्ने योजना बनाएका आन्तरिक पर्यटकका लागि मौसम बाधक बन्न पुग्यो ।

तनहुँको व्यास नगरपालिका–३ दमौली निवासी संगीत घिमिरे मनाङ भ्रमणमा जाने योजना बनाएकामा अहिले स्थगित गरेको बताउँछन् । उनी भन्छन्, ‘मनाङको सौन्दर्यताले आकर्षण गरिरहेको अवस्थामा एक पटक पुग्ने योजना बनाइएको थियो, तर योजना योजनामै सीमित भयो ।’

दसैँको टीकाको भोलिपल्ट यात्रामा निस्कने भनिएकामा मनसुन सक्रिय भएर भारी वर्षा हुने सूचनाका कारण यात्रा स्थगित गरिएको घिमिरे बताउँछन् । ‘लामो समयदेखि एक पटक मनाङ पुग्ने धोको थियो, वर्षाका कारण योजना नै स्थगित गरेर बसेका छौं’, उनी भन्छन्, ‘बल्लतल्ल समय मिलाएर बनाएको योजना ‘क्यान्सिल’ भएपछि अब कहिले जाने भन्ने निश्चित छैन ।’

‘चार जनाको समूह बनेर टीकाटालो गरी निस्कने योजना नै क्यान्सिल गरियो’, उनी भन्छन्, ‘मनाङ पुगेर फर्कने यहाँका मानिसले त्यहाँको सुन्दरताको बयानले अझ प्रलोभनमा पारेको छ, यात्रा सफल बनाउन सकेनौँ मौसम तगारो बन्यो ।’

जल तथा मौसम विज्ञान विभागले दसैँको टीकापछि तीन दिन यात्रा नगर्न सूचित गरेपछि अधिकांश आन्तरिक पर्यटकको मनाङ यात्रा रोकिएको छ । घिमिरेका समूह जस्तै अन्य आन्तरिक पर्यटकले अहिले हिमाली मनाङको यात्राका लागि मौसम बाधक बनेको छ । दशैँको टीका लगाएर मनाङ भ्रमणमा जाने योजना स्थगित गर्न बाध्य भएका छन् ।

जेनजीको आन्दोलनका कारण बाह्य पर्यटकको आगमन तथा बुकिङ भएका होटल समेत स्थगित गरेकाले मनाङ सुनसान भएको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिए । ‘जेनजी आन्दोलनले विदेश पर्यटक आगमनमा नभए पनि आन्तरिक पर्यटक आउने आशामा थियौं, तर यस वर्ष मौसमका कारण आन्तरिक पर्यटकको आगमन पनि हुन सकेन ।’

मनाङको प्राकृतिक सौन्दर्यताले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्दै यहाँको आयस्रोतले देशकै अर्थतन्त्रमा प्रभाव पार्दछ । मुख्य पर्यटकीय समयमा नै पर्यटकको आगमन भएको छैन । विगतमा विदेशी पर्यटक खचाखच हुने भए पनि यस वर्ष जेनजी आन्दोलनले यहाँको पर्यटकीय क्षेत्रमा परेको प्रभावले देशको अर्थतन्त्रलाई असर गरेको छ ।

थोरै जनसंख्या भएको मनाङमा आन्तरिक पर्यटकको पनि यस पटक आगमन नभएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलले बताए । चाडपर्वका बेलामा घुम्ने परम्परा विकसित भएसँगै यहाँ आन्तरिक पर्यटक पनि वर्षा, पहिरो तथा जेनजी आन्दोलनको प्रभावले आउन नसकेको उनको भनाइ छ ।

विगतका वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने मनाङका होटेल यसपालि पर्यटकीय मौसमको सुरुमै सुनसान बनेको होटेल व्यवसायी फुर्वा लामाले बताए । यहाँका बुकिङ भएका होटेल पनि रद्द भएका उनले जानकारी दिए ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले दसैँ सकिन नपाउँदै मौसमका कारण बिदामा मिलाएर मनाङ भ्रमणमा आउने पर्यटक पनि आउन नसकेको बताए । ‘टीकाटालो गरेपछि मनाङ घुम्न जान्छु भन्ने आन्तरिक पर्यटकलाई यस पटक मौसम बाधक बन्यो’, उनले भने, ‘जेनजी आन्दोलनले प्रभाव पारेको पर्यटन व्यावसायलाई मौसमले पनि साथ दिएन ।’

विशेष गरी स्वदेशी तथा विदेशी पर्यटकको मनाङ आगमनले देशकै अर्थतन्त्रमा महत्वपूर्ण मानिन्छ । अहिले देशमा नै अर्थतन्त्र घाटामा पुग्ने देखिएको अध्यक्ष गुरुङको भनाइ छ । मनाङवासीको आम्दानी पर्यटन र कृषि तथा पशुपालन हो । तर, आम्दानी शून्य भएको छ ।

विदेशी पर्यटक विश्वकै १०औं स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सीमानास्थित थोराङ्ला भञ्ज्याङ (पास), विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल, मनास्लु हिमाल अरोहण गर्न आउने गर्दथे । स्वदेशी पर्यटक भने चाडपर्वको समयमा लामो बिदामा मनाङलाई भ्रमणको गन्तव्य बनाएर पुग्ने गर्दथे । तर, पर्यटकको लर्को लाग्ने यस समयमा नै यस वर्ष सुनसान छ ।

– नवीन लामिछाने / रासस

तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द

चितवन । चितवनको माडी नगरपालिकामा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । भूमिगत प्रसारण लाइनमा समस्या आउँदा शनिबार बिहान २ बजेदेखि माडी नगरपालिकामा विद्युत् आपूर्ति बन्द भएको हो ।

विद्युत् प्राधिकरण वितरण केन्द्र चनौलीका प्रमुख राजकुमार श्रेष्ठका अनुसार भूमिगत विद्युतीकरण गरिएको स्थानमध्ये दुई स्थानमा समस्या आएको हो । शनिबारदेखि परेको पानीका कारण रिउखोला नजिक राखिएको भूमिगत लाइनमा समस्या आएको छ । उनले भने, ‘पानी धेरै जमेका कारण विद्युत् प्रसारणमा समस्या भयो ।’

यस्तै चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको भूमिगत विद्युतीकरणको तारमा सडकको चौडाइ फराकिलो बनाउने क्रममा उपकरणको ठक्करले समस्या आएको उनले जानकारी दिए । उनका अनुसार दुवै स्थानको समस्या समाधान गरेर आज साँझसम्ममा विद्युत् आपूर्तिमा सहज बनाइने छ । समस्या देखिएको स्थानमा अहिले मर्मतको काम भइरहेको श्रेष्ठले बताए । माडी नगरपालिकामा १२ हजार ग्राहक रहेका छन् ।

विपद व्यवस्थापनको सारथी : पूर्व सूचना, प्रतिकार्य र पूर्व तयारी

काठमाडौं । नेपालीहरूको महान् चाड दसैँको रमझम सकिनै बाँकी थियो । हजारौँ सर्वसाधारणहरू दसैँ मनाउन आफ्नै गाउँ फर्किएका थिए। निधारमा रातो टीका, जमरा लगाएर ओहोरदाहोर गर्ने क्रम जारी नै थियो । आफन्तको टीका थाप्न जानै बाँकी नै थियो होला ।
यही चाडपर्वको उल्लासमय समयमा आएको एउटा सूचनाले आम सर्वसाधारणलाई झस्कायो । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने, बाढी–पहिरोको समेत जोखिम रहेको भन्दै जो जहाँ छ, उही सुरक्षित रहन सन्देश जारी ग¥यो ।
त्यसपछि अन्य अन्तरसरकारी निकायहरूले विभागको सूचनालाई अनुशरण गर्दै विपद् व्यवस्थापनको पूर्व तयारीका लागि जुट्न थाले । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सोमबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले लामो दूरीका तथा काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधन आवागमन तीन दिनसम्म रोक्ने निर्णय गर्‍यो।
यस निर्णयले यस पटक बाढी–पहिरोका कारण सडक यात्रीहरूको ज्यान जान पाएन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री कुलमान घिसिङले सरकारको पूर्वतयारीका कारण भौतिक पूर्वाधारमा क्षति भए पनि विगतमा जस्तो सडकमा यात्रा गरिरहेका यात्रुहरूको धनजनको क्षति हुन नपाएको बताए ।
गत वर्षको असोजमा झ्याप्ले खोलामा आएको पहिरोका कारण यात्रुबाहक बस नै पुरिँदा ३५ भन्दा बढीको ज्यान गएको थियो । रातिको समयमा पहिरो खस्दा बुटवलबाट काठमाडौँका लागि छुटेको लु१ज ४५७८ नम्बरको माइक्रोबस, गोरखाबाट काठमाडौँका लागि हिँडेको ना४ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौँका लागि हिँडेको बा३ज १३४५ नम्बरको माइक्रोबस पहिरोले पुरिएको थियो ।
गत वर्ष पनि जल तथा मौसम विज्ञान विभागले अति भारी वर्षा हुने र सकेसम्म यात्रा गर्न नहुने भन्दै पूर्वसूचना जारी गरेर सचेत गराएको थियो । विभागको सूचनालाई अन्य सरकारी संयन्त्रले नै विश्वास गरेन । सूचनाको बेवास्ता गर्‍यो । न यात्रुहरूले पत्याए, न सवारीधनीहरूले सूचनाको विश्वास गरेर केही दिन सवारीसाधन बन्द गर्न सके । यस वर्षजस्तो न त कडाइका साथ सवारीसाधन आवागमनमा रोक लगाइयो । गत वर्ष सरकार विपद् व्यवस्थापनका लागि आवश्यक पूर्व तयारीमा चुकेको सम्बन्धित विज्ञहरुले टिप्पणी गरेका थिए ।
गत वर्षको असोज १०, ११ र १२ गतेको भारी वर्षाले काठमाडौँ उपत्यकाको अधिकांश भाग डुबाउनमा परेको थियो । यहाँका बासिन्दाले नसोचेको विपद् बेहोर्नुपर्‍यो । काठमाडौँ उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा भारी वर्षाले ल्याएको विपद्ले अझै पनि कयौँलाई तर्साइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार तीन दिनको अवधिमा दुई सय ५० जनाले ज्यान गुमाए । १८ जना अझै बेपत्ता छन् भने १७८ जना घाइते भएका छन् ।
गत असार २८ गते पनि नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको डेब्रिज बहावका कारण सडकमा गुडिरहेका दुई वटा यात्रुबाहक बस बगाएको अप्रिय घटना अझै नेपालीको मनमस्तिष्कमा नमीठो सम्झना बनेर रहेको छ । यस पटक सरकारको राम्रो पूर्व तयारीका कारण  अप्रिय घटनाहरू हुन पाएन ।
पूर्व सूचनाको वेवास्ता गर्दा मानवीय क्षति
जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै भारीदेखि अति भारी वर्षाका कारण बाढी–पहिरो जस्ता धनजनको क्षति हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गर्दै आएको थियो । विभागले दिएको पूर्व सूचना बेवास्ता नगरेको भए लाङ्टाङमा पदयात्राका लागि निस्किएका भक्तपुरका चार जना बेपत्ता हुने थिएनन् ।
पदयात्रा त पछि पनि जान सकिन्थ्यो नि । खतरा छ भन्ने सूचना आउँदा आउँदै त्यसरी घरबाट निस्किनु हुन्थेन । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्छामा आएको पानीले बगाउँदा भक्तपुर जिल्ला ठिमी नगरपालिका–३ का २५ वर्षीय संस्कृति श्रेष्ठ, २५ वर्षीय किसन श्रेष्ठ, २५ वर्षीय सङ्गीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवी श्रेष्ठ वेपत्ता छन् । यस्ता अप्रिय घटनाका उदाहरणले अब भने सबैलाई पाठ सिकाओस् ।
पहिरोको पनि पूर्वसूचना आवश्यक
जल तथा मौसम विज्ञान विभागले बाढीको प्रभाव पर्ने सम्भावित क्षेत्रहरूमा पूर्व सूचना दिएर सर्वसाधारणहरूलाई सुरक्षित स्थानमा बस्न सहयोग गर्‍यो । तर बाढीको जस्तै पहिरोको पनि पूर्व सूचना प्रणालीको विकास नभएकै कारण पछिल्ला वर्षहरूमा पहिरोबाट हुने धनजनको क्षति बढ्दै गएको बताउँछन्, पहिरोविद् डा. सुवोध ढकाल ।
इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार पहिरोका कारण ३७ जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ जना, माङ्सेवुङ गाउँपालिका–१ मा तीन, देउमाई नगरपालिका–५ मा आठ, जोगमाई गाउँपालिकामा आठ, सन्दकपुर गाउँपालिकामा छ र फाकफोकथुम गाउँपालिकामा एक जनाको ज्यान गएको उनले जानकारी दिए ।
पहिरोविद् ढकालले पहिरोको जोखिम न्यूनीकरण गर्न पहिरो जानसक्ने स्थानको पहिचान गरी बस्ती स्थानान्तरण गर्नुपर्ने, त्यस्ता स्थानमा नबस्न सूचना दिनुपर्ने, पहिरोको पूर्व सूचनामा राज्यको लगानी बढाउनुपर्ने, समयमा खोज तथा उद्दार कार्यलाई प्राथमिकता दिनुपर्ने, जथाभावी रूपमा खनिने सडक पूर्वाधार रोक्नुपर्ने, वातावरणमैत्री विकासमा जोड दिनुपर्ने, पहिरो रोकथामका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए ।
‘नेपाल जस्तो भौगोलिक मुलुकमा पहिरोको वर्षेनी जोखिम छ । कतिपय स्थानमा पुराना पहिरोमा बस्ती बसेका छन् । पुराना पहिरो दोहोरिएर जाने सम्भावना हुन्छ । तसर्थ, पहिरोको जोखिम भएको बस्ती तत्काल सुरक्षित स्थानमा सार्नुपर्छ’, उनले भने, ‘सडक यातायात आवागमनमा रोक लगाएर अझ ठूलो क्षति हुन पाएन । दीर्घकालीन समाधानका लागि जोखिम भएका स्थानमा सुरुङ निर्माण गर्नुपर्छ । नेपाल जस्तो मुलुकमा सुरुङमार्ग उचित विकल्प हो ।’
प्राधिकरणको तथ्याङ्क अनुसार गतवर्षको वैशाख १ गतेदेखि चैत १२ गतेसम्मको तथ्याङ्क हेर्दा पहिरोका कारण तीन सय ५९ जनाले ज्यान गुमाए भने ४८ जना अझै पनि बेपत्ता र दुई सय ८७ जना घाइते भएका छन् । सो अवधिमा तीन हजार छ सय ९२ घर आंशिक र दुई हजार १३ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । पहिरोका कारण ४० पुलमा क्षति पुगेको छ ।
त्यसैगरी, बाढीका कारण ९७ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता र ४८ जना घाइते भएका छन् । भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका छन् भने ३८ जना घाइते भएका छन् । हावाहुरीका कारण सात जनाको मृत्यु र ४२ जना घाइते भएका छन् । हिउँपहिरोका कारण एक जना बेपत्ता भएका छन् । पहिरोको पूर्वसूचना नभएकै कारण क्षति बढी भएको प्राधिकरणको भनाइ छ ।
विगतको घटनाबाट पाठ सिकेर अघि बढेका छौं : प्राधिकरण
गत वर्षको असोजमा मुलुकले बाढी, पहिरो र डुबानको अप्रिय घटना सामना गर्नुपर्‍यो । राजधानीकै जनताको समयमा उद्धार हुन सकेन । पूर्व सूचना प्राप्त भए पनि अन्तरसरकारी निकायबीचको समन्वयको अभाव देखियो । पूर्व तयारी पर्याप्त थिएन । त्यसबेला सरकारले आलोचना समेत खेप्नुपरेको थियो ।
उक्त घटनाबाट पाठ सिक्दै यस वर्ष मनसुन सुरु हुनुअघि नै पूर्वतयारी र प्रतिकार्यका लागि अगाडि बढेको बताउँछन्, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्ट । ‘विगतमा पूर्वतयारी राम्रो नहुनु भनेकै हाम्रा लागि पाठ थियो ।
गत वर्ष किन सकिएन ? कसरी काम गर्न सकिन्थ्यो ? समीक्षा गरेर यो वर्ष हामीले प्रतिकार्य कार्ययोजना बनाएका थियौँ, जहाँ विगतका कमजोरीहरूलाई केलाएका थियौँ’, उनले भने, ‘गत असोज १०, ११ र १२ गतेको भारी वर्षाका कारण सबैभन्दा बढी क्षति पुगेको थियो ।कार्ययोजनाको एउटा अध्याय नै असोजको सिकाइ के रह्यो भनेर समीक्षा गरिएको छ ।’ यस वर्ष अन्तरसरकारी निकाय तथा अन्य सरोकारवाला सङ्घसंस्थाबीचको राम्रो समन्वयका कारण विपद् व्यवस्थापन सहज भएको भट्टको भनाइ छ ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो थियो प्राधिकरणको तयारी
प्राधिकरणका कार्यकारी समिति अध्यक्ष समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिक सम्बन्ध उच्च बनाउनुपर्ने निर्देशन दिए ।
सम्भावित विपद्लाई मध्यनजर गर्दै गृहमन्त्री अर्यालको संयोजकत्वमा गृहसचिव रामेश्वर, गृह मन्त्रालय एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरू, चारै सुरक्षा निकायका प्रमुख एवं विपद् ‘फोकल पर्सन’, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सदस्यहरूलाई ‘भर्चुअल’ बैठकमा बोलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।
प्राधिकरणले एकद्वार नीति अनुसार पूर्वतयारी, खोज तथा उद्धार सम्बद्ध कार्यमा जोड दिएको थियो । केन्द्र र जिल्लामा मनसुन प्रतिकार्य कमाण्ड पोस्टहरू सक्रिय बनाई सम्भावित विपद् व्यवस्थापन गर्न निर्देशन जारी गरिएको थियो । मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार जिम्मेवार सबै निकाय क्रियाशील हुन निर्देशन दिइएको थियो ।
जोखिमपूर्ण क्षेत्रमा सबै किसिमका सवारी साधन सञ्चालनमा रोक लगाउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइयो । त्यसैगरी, सर्वसाधारणलगायत सबैलाई असोज १७ देखि २० गतेसम्म अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कन सावधान गराउने, खोज तथा उद्धारका लागि सबै सुरक्षा निकाय, स्वयंसेवकलगायतका संयन्त्रहरू तयारी अवस्थामा राख्ने निर्णय भयो ।
राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र चौबीसै घण्टा पूर्णरूपमा क्रियाशील राखी आपत्कालीन गोदामघरहरू तत्काल प्रयोगमा आउन सक्ने गरी तयारी अवस्थामा राखियो । प्राधिकरणले सम्भावित विपद्लाई ध्यानमा राखेर हेलिकोप्टर, ड्रोन, डुङ्गासम्बन्धी संघ–संस्था तथा निजी क्षेत्रसँग समझदारी बढायो ।
६५ लाखभन्दा बढी निःशुल्क बाढी पूर्व सूचनासम्बन्धी एसएमएस
जल तथा मौसम विज्ञान विभागले बाढीबाट हुनसक्ने सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि गत शनिबार र आइतबार दुई दिनको अवधिमा करिब ६५ लाख १६ हजार बढी पूर्वसूचना प्रवाह गर्दै प्रभावित क्षेत्रका सर्वसाधारण तथा सरोकारवाला निकायलाई मोबाइल एसएमएस पठाएको बताउँछन् विभागका बाढीविद् बिनोद पराजुली ।
‘दुई दिनको अवधिमा नेपाल टेलिकम र एनसेलमार्फत करिब ६५ लाख १६ हजार एसएमएस प्रवाह गरिएको छ’, उनले भने, ‘बाढीको पूर्वसूचनाका आधारमा सर्वसाधारणले समयमा नै सुरक्षित स्थानमा बस्न पाउनुभयो । पछिल्ला वर्षहरूमा पूर्वसूचनाको प्रभावकै कारण बस्तीमा बाढीबाट मानवीय क्षति कम हुन थालेको छ । अझै पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।’
विज्ञ भन्छन् : यस पटक सरकारको विपद्जन्य पूर्व तयारी राम्रो देखियो
विपद् व्यवस्थापनविद्हरूले यस पटक मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरणमा सरकारले गरेको पूर्व तयारीका कार्य राम्रो देखिएको बताएका छन् । विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले विपद्का समयमा हुने धनजनको क्षति न्यूनीकरणका लागि सरकारले थालेको तयारी र पूर्वसूचना सम्प्रेषण विगतको तुलनामा यसपटक राम्रो देखिएको भन्दै प्रशंसा गरे ।
‘गत वर्ष पनि मौसमविद्हरूले ठूलो वर्षा हुने र बाढी–पहिरोको जोखिम रहने पूर्वानुमान गरेकै थिए । तर यातायात मात्रै सञ्चालन हुन नदिएको भए त्यति धेरै क्षति हुन पाउँदैनथ्यो’, उनले भने, ‘यस पटक यातायात बन्द गरेर राम्रो भएको छ । आगामी दिनमा पनि यसरी नै आवश्यक पूर्वतयारीका लागि सम्बन्धित सरकारी निकायबीच समन्वय बढाउन आवश्यक छ ।’
डिपिनेटका अध्यक्ष डा. राजु थापाले सम्भावित विपद्लाई ध्यानमा राखेर सरकारले विभिन्न सङ्घसंस्था तथा निजी क्षेत्रसँग सहकार्यमा पूर्वतयारी एवं उद्धार कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गरेको बताउँदै आगामी दिनमा पनि सामूहिक प्रयासबाटै यस्ता विपद््हरुबाट सुरक्षित हुन सकिनेछ भने । यसैगरी सर्वसाधारणले पनि सरकारले दिएको निर्देशन पालना गरेर सुरक्षित रहन सकेमा भविष्यमा यस्ता विपद्बाट हुनसक्ने सम्भावित धनजनको क्षति कम गर्न सकिने उनको तर्क छ ।

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ ।

सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन् ।

यसैगरी बी एन्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी कुल ३० जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग सम्पर्क एवं समन्वय गर्दा प्राप्त पछिल्लो विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार उपचारका लागि आएका घाइतेहरूको संख्या दुई हजार ३१६ रहेको छ जसमा उपचारपश्चात् दुई हजार २३८ जना ‘डिस्चार्ज’ भइसकेका छन् ।

त्यसैगरी अस्पतालमा आएका-मृत्यु भएका कुल संख्या ४९ रहेको छ । अस्पतालहरूमा २०८२ असोज १२ गतेदेखि हालसम्म जेनजी क्लिनिकमार्फत सेवा प्राप्त गरेका घाइतेहरूको संख्या भने नौ जना रहेको छ ।

पर्यटकीय गन्तव्य बन्दै कोरला नाका

मुस्ताङ । कोरला नाका पछिल्लो केही वर्षयता पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक सहज हुँदै जान थालेपछि कोरला नाका भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बर्सेनि वृद्धि हुँदै जान थालेको छ ।
समुद्री सतहको (चार हजार ६१०) मिटर अग्लो उचाइमा रहेको (नेपाल–चीन) उत्तरी कोरलानाका २४ नं सीमास्तम्भ अर्थात् जङ्गे पिल्लर मुख्य नाका प्रवेशद्वार हो । यही प्रवेशद्वार रहेको कोरला नाकामा बर्सेनि हजारौँ आन्तरिक पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् । मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमण गर्ने ५० प्रतिशत आन्तरिक पर्यटक कोरला नाका अवलोकनका लागि जाने गरेका छन् ।
यहाँ आउने आन्तरिक पर्यटक मुक्तिनाथको दर्शन गरी उपल्लो मुस्ताङ र कोरलानाका अवलोकनका लागि प्रस्थान गर्ने गरेको पाइएको छ । उपल्लो मुस्ताङ भ्रमणका लागि ५०० डलर राजस्व तिरेर प्रवेश अनुमति लिने विदेशी पर्यटक भने सीमा नाकामा जान पाउँदैनन् ।
सुरक्षा संवेदनशीलताका कारण उपल्लो मुस्ताङ गएका विदेशी पर्यटक लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरीको (बिओपी) चेक पोस्ट कटेर नाकामा जान पाउँदैन । दसैँ पर्वसँगै मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि हुँदै जान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जेनजी आन्दोलनले उत्पन्न परिस्थिति र हालै देखिएका प्रतिकूल मौसमको प्रक्षेपणका बाबजुद मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दसैँपछि असोज १७ र १८ गते गरी दुई दिनमा छ हजार १७३ नेपाली आन्तरिक पर्यटक र ६८८ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रनाउ छिरिङकिप्पा लामाले जानकारी दिए । यसैगरी दुई दिनको अवधिमा दुई हजार २१७ सवारीसाधन मुस्ताङ भित्रिएको प्रनाउ लामाको भनाइ छ ।
नेपाल–चीन उत्तरी कोरला नाका भ्रमणका लागि आन्तरिक पर्यटकको संख्या दसैँपछि ह्वात्तै बढेको न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले जानकारी दिए । दसैँ पर्वको असोज १७ र १८ गतेका दिनमा दैनिक एक हजार ५०० आन्तरिक पर्यटकले कोरला नाकाको अवलोकन गरी फर्किएको उनको भनाइ छ ।
यसैगरी दसैँपछिको तेस्रो दिन आइतबार मात्रै एक हजार ७०२ आन्तरिक पर्यटक कोरला नाका पुगेको सशस्त्र प्रहरीका बिओपी इञ्चार्ज थापाले उल्लेख गरे । नाका अवलोकनका लागि न्हेचुङस्थित सशस्त्र प्रहरी चेक प्वाइन्टमा १२६ बस, जिप र कार भित्रिएका छन् । यसैगरी चेक प्वाइन्टमा इन्ट्री भई २२४ मोटरसाइकल कोरला नाका पुगेको बिओपी इञ्चार्ज थापाले उल्लेख गरे ।
उच्च स्थानमा अवस्थित नेपाल–चीन उत्तरी कोरला नाका अवलोकनका लागि जाने नेपाली पर्यटकमा चिसो र हाइअल्टिच्युडका कारण विभिन्न समस्या देखिने गरेको पाइएको छ । नाकामा अक्सिजन कमीका कारण हाइअल्टिच्युड हुने सम्भावना र चिसोका कारण सवारीसाधन स्टार्ट हुन समस्या हुने आदि समस्या देखिएको इञ्चार्ज थापाले बताए ।
नाका पुगेका पर्यटक तथा सवारीसाधनलाई चिसोका कारण समस्या देखिने र उनीहरुको उद्धार गर्न समस्या देखिएकाले आजदेखि दैनिक बिहान ७ बजे नाका प्रवेश र साँझ ४ बजे नाकाबाट फर्किएर न्हेचुङ चेक पोस्टबाट भित्रिनुपर्ने कार्यतालिका सार्वजनिक गरिएको इञ्चार्ज थापाले जनाए ।
बहुचर्चित यहाँको उत्तरी कोरला नाकामा पुगेका नेपाली आन्तरिक पर्यटक नेपाल–चीनको २४ नं जङ्गे पिल्लरको प्रोफाइल राखेर राष्ट्रिय झन्डा फहराउँदै व्यक्तिगत र सामूहिक रुपमा फोटो तथा भिडियो खिच्ने गरेका छन् । कोरला नाका अवलोकनका लागि पुगेका नेपाली पर्यटकले नाका छेउ त्रिपाल टाँगेर व्यापार चलाएर बसेका सीमावर्ती क्षेत्रका व्यापारीसँग कोसेलीका रुपमा चिनियाँ सामान किनमेल गर्ने गरेको ढिन्डुप गुरुङले जानकारी दिए ।
नाकामा नेपाली पर्यटक आउन थालेपछि स्थानीय नाकामा व्यापार गर्न बसेका व्यापारी उत्साहित भएको उनले बताए । नाका पुगेका नेपाली आन्तरिक पर्यटकले उत्तरतर्फ सीमापारि चीनको तिब्बती भूमिमा निर्माण भएको भव्य संरचना हेरेर खिन्न हुन्छन् । चीनले उत्तर-दक्षिण व्यापारिक मार्गका रुपमा विस्तार गर्ने उद्देश्यले ठूलाठूला भव्य भौतिक संरचना बनाइसकेको छ । यहाँको कोरला नाकालाई सरकारले पूर्ण रुपमा सञ्चालन गरे पनि नाकामा नेपालका तर्फबाट आवश्यक भौतिक संरचना निर्माण हुन सकिरहेका छैनन् ।

दलित समुदायको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ

सिरहा । सिरहामा दलित सुमदायको घर भत्काइ दिएको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । कल्याणपुर नगरपालिका–८ का रामकिशोर यादव पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ परेको हो । वडाध्यक्षसहित १३ जनाविरूद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी परेको जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी अनन्तराज शर्माले जानकारी दिए ।

उनका अनुसार सोमबारसम्म वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन्। बाँकीको खोजी कार्य भइरहेको छ । दशैंमा दुर्गा पुजाको क्रममा सोही वडाका दलित समुदायसँग विवाद भएको थियो । त्यही बेलामा अनधिकृत जग्गा (ऐलानी) मा बसेका ४-५ वटा घर भत्काइ दिएको एसपी शर्माले बताए ।

‘तीन वटा घर पूर्णरूपमा क्षति पुगेका छन् भने २ वटामा आंशिक छ,’ उनले भने, ‘लुटपाट भएको भन्ने कुरा पनि आएको छ । हामी अनुसन्धान गरिरहेका छौं ।’ यस घटनाबारे पीडित पक्षसँग कुराकानी भइरहेको उनले जानकारी दिए ।

जेनजी आन्दोलनका ‘भाइरल’ युवकले गरे आमाको विभत्स हत्या

काठमाडौं । जेनजी आन्दोलनमा प्रहरीसँग विवाद गर्दै ‘भाइरल’ बनेका धादिङका एक युवक आमाको हत्या आरोपमा पक्राउ परेका छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल छन् ।

५५ वर्षीया आमा रमामायाको हत्या गरेको उनीमाथि आरोप छ । गए राति (असोज १९) धारिलो हतियार प्रहार गरी यमबहादुरले आमाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं एसपी भेषराज रिजालले जानकारी दिए । घटना लगत्तै खटिएको प्रहरी टोलीले यमबहादुरलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको उनले बताए।

यमबहादुरमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरीले घटनास्थलबाट हतियारसहित यमबहादुर कँडेललाई नियन्त्रणमा लिएको थियो । यो घटनाले गाउँ नै स्तब्ध छ । यमबहादुर भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका भिडिओहरूमा निकै भाइरल भएका थिए ।

‘मेरो आँखामा डर छ ? ल हेर्नुस् म डराएको छु ? म मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन’ जस्ता डाइलग भिडिओमा बोलेका तिनै युवाले आमाको हत्या गरेर सिङ्गै गाउँलाई रुवाएका छन् ।

कोशी प्रदेश सरकार राहत तथा उद्धार कार्यमा सक्रिय

मोरङ । कोशी प्रदेश सरकारले हालको बाढी–पहिरोले प्रभावित क्षेत्रमा आफ्नो स्रोतसाधनलाई भ्याएसम्म स्रोतको परिचालन गर्दै राहत तथा उद्धार कार्य तीव्र बनाएको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना इलाममा रही राहत तथा उद्धारमा खटिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यसैगरी प्रदेशका अन्य मन्त्रीसमेत आ–आफ्ना जिल्लाका प्रभावित क्षेत्रमा गएर प्रत्यक्ष रुपमा उद्धार तथा राहत कार्यमा सहभागी भएको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका सबै मन्त्री स्थलगत रुपमा रहेर राहत कार्यमा जुटिरहेको जानकारी दिए । उनले भौतिक तथा पूर्वाधार मन्त्रालयमार्फत बाढी–पहिरोका कारण अवरुद्ध भएका सडक तथा साना बाटो खोल्नका लागि १४ वटा पूर्वाधार कार्यालयलाई तत्काल काम अघि बढाउन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री कार्कीले स्थानीय पालिकासँगको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाई प्रदेश सरकार विपद् व्यवस्थापनमा पूर्ण रूपमा सक्रिय रहेको स्पष्ट पारे । यसैगरी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्लास्तरीय सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीमार्फत समन्वय र सहकार्य गरिरहेको तथा सबैतिर आवश्यक समन्वय गरी उद्धार कार्यमा सक्रियता देखाइएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी फिल्डमा नै रही जनताको सुरक्षाका लागि काम गरिरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले केही दिनअघि प्रदेशका सुरक्षा निकायलाई लाइफ ज्याकेट, बोटलगायतका रु दुई करोड मूल्य बराबरका विपद्–उद्धार सामग्री वितरण गरेका कारण उद्धार कार्य सहज भएको जनाइएको छ ।

हेटौंडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

बागमती । अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् । सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए ।

उनका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।

भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिर नजिकै पहिरो गएकाले सवारीसाधन सञ्चालनमा आउन नसकेको प्रहरी निरीक्षक सापकोटाले बताए । बगाएको सडक पुनर्निर्माण तथा पहिरो पन्छ्याउने कार्य भइरहेको उनको भनाइ छ ।

यस्तै हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकमा पर्ने बगुवा खोलासम्म पहिरो खसेर सडकको केही भाग बगाएको प्रहरी निरीक्षक सापकोटाले बताए । ठाउँ–ठाउँमा खसेको पहिरो पन्छ्याउने र सडक मर्मतको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

काठमाडौं । केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।

अहिले यहाँका सडक, यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी क्रमशः सामान्य स्थितिमा फर्किन थालेको छ । उपत्यकामा लगातारको झरीका कारण जनजीवन प्रभावित भएको थियो । मुख्य सडकदेखि गल्लीसम्म पानी जम्ने, ट्राफिक जाम बढ्ने, पैदल हिँड्नसमेत गाह्रो हुने अवस्था थियो । आइतबार बिहानदेखि मौसममा सुधार आएपछि काठमाडौँका सडकमा गाडीको चाप बढेको छभने सर्वसाधारणको चहलपहल पनि पुनः बढेको छ ।

शुक्रबारदेखि परेको लगातारको वर्षाले केही दिन काठमाडौँको सडक नेटवर्क प्रभावित भए पनि हाल काठमाडौँका सबै प्रमुख सडक सञ्चालनमा आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, ‘शुक्रबारदेखि परेको वर्षाका कारण यहाँको जनजीवन केही असमान्य बनेको थियो, आइतबारदेखि मौसममा सुधार आएको छ, सडकमा गाडीको चाप पनि सामान्य अवस्थामा फर्किएको देखिन्छ ।’

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने नाकासहित नागढुङ्गा, अरनिको राजमार्ग, टोखा सडकखण्डलगायतका मार्ग नियमित सञ्चालन भइसकेका तथा पहिरोको अवरोधका कारण रोकिएका केही सवारीसाधन आवागमन पनि अहिले सञ्चालनमा आइसकेका प्रवक्ता सुवेदीले बताए ।

वर्षा रोकिएसँगै काठमाडौँका बजार क्षेत्रमा पनि मानिसहरुको भीड देखिन थालेको छ । अहिले दैनिक उपभोग्य लगायतका सामग्री किनमेल गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । असन, इन्द्रचोक, न्युरोड, पुरानो बानेश्वर, गोङ्गबुलगायतका व्यापारिक क्षेत्रमा उपभोक्ताको उपस्थिति बढ्दै गएको व्यवसायीले बताएका छन् ।

वर्षाका कारण जनजीवन असमान्य भएको काठमाडौँमा अहिले वर्षा रोकिएर घाम लागेपछि स्थानीय र व्यवसायीहरुले राहतको महसुस गरेका पुरानो बानेश्वरस्थित फेन्सी पसल सञ्चालक सरिता थापाले बताइन् । उनले भनिन्, ‘शनिबारसम्म यहाँका सडकमा हिँड्नै सक्ने अवस्था थिएन, आइतबारसम्म जताततै पानी जमेको अवस्था थियो, आज मौसम खुलेर घाम लागेकाले निकै सहज भएको छ ।’

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जनाएको छ ।

यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराईका भू–भागका स्थानमा मेघगर्जन /चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका भू–भागका थोरै स्थानमा मेघगर्जन /चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

दुई दिनमै १० हजारले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३३ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार (असोज १९) छापावाल सुन प्रतितोला दुई लाख ३० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । त्यस दिन सुनको मूल्य एकैदिन तोलामा सात हजार ४०० रुपैयाँले बढेको थियो ।

सोमबार चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला दुई हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

पार्टी खोल्ने सुरसारमा बालेन, कुन–कुन नयाँ अनुहारले देलान् साथ ?

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह नयाँ राजनीतिक दल खोल्ने तयारीमा छन् । पछिल्लो समय जेन–जी आन्दोलनले ल्याएको राजनीतिक भूचालपछि बालेनमाथि नयाँ नेतृत्व सम्हाल्ने चर्को दबाब बनेको छ । देश राजनीतिक संक्रमणको घडीमा छ, र बालेन नयाँ युगको नेतृत्वदाताको रूपमा स्थापित हुँदैछन् ।

‘जेन–जी आन्दोलन’ ले बालेनको राजनीतिक प्रवेश तीव्र बनायो
भ्रष्टाचारविरोधी अभियान र युवा चेतनाको प्रतिनिधित्व गर्ने जेन–जी आन्दोलनले बालेनलाई नयाँ युगको नेता मान्दै आएको छ । आन्दोलनले मात्र एमाले–कांग्रेस गठबन्धनको सरकार ढालेन, देशको राजनीतिक दिशा नै बदलिदियो । अहिलेको अन्तरिम सरकार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको छ– जसमा बालेनले नै परोक्ष सिफारिस गरेका थिए ।

बालेनको शान्त, तर स्पष्ट रणनीति
प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेर बालेनले अन्तरिम सरकारको सट्टा आगामी ५ वर्ष सरकार सञ्चालन गर्ने लक्ष्य रोजे । यसको लागि पार्टी आवश्यक ठान्दै उनी भित्रभित्रै तयारीमा लागेका छन् । पार्टीको औपचारिक घोषणा नभए पनि बालेनका निकट स्रोतहरूले भने, ‘यो खेल अब उनी नेतृत्वमा चल्ने छ’ ।

समयको चाप : अब धेरै ढिला गर्न मिल्दैन
अघिल्लो योजना अनुसार बालेनले आवधिक निर्वाचन (२०८४) को ६ महिना अघिबाट सक्रियता देखाउने तयारी गरेका थिए । तर राजनीतिक घटनाक्रमले योजना हल्लियो–अब फागुन २१ गते नै संघीय निर्वाचन हुने पक्का भइसकेको छ ।
अब निर्णयको बेला हो–घोषणा ढिलो भयो भने, लहर कमजोर पर्न सक्छ ।

‘हाम्रो नेपाली पार्टी’ बन्ने नयाँ ‘लौरो’ ?
बालेनले सम्भावित रुपमा ‘हाम्रो नेपाली पार्टी’ लाई अघि बढाउने तयारी गरिरहेका छन् । हाल यो पार्टी ‘लौरो अभियान’ बाट उदाएको हो । जसले अघिल्लो चुनावमा काठमाडौंमा बालेन र धरानमा हर्क साम्पाङलाई समर्थन गरेको थियो । यद्यपि, पार्टीको नाम परिवर्तन हुने सम्भावना छ । यता पछिल्लो समय बालेन र हर्कको सम्बन्धनमा दरार आएको छ ।

हर्क साम्पाङले बालेनसँगै सहकार्य गरेर आउँदा निर्वाचनमा जान नसकिंने निष्कर्ष निकाल्दै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । उनले ‘श्रम सँस्कृति पार्टी’ दर्ताका लागि आयोगमा निवेदन दिइसकेका छन् । जसलाई निर्वाचन आयोगले दर्ता प्रक्रियामा राखेको छ ।

साथ दिने सम्भावित अरु अनुहारहरूः
कुलमान घिसिङ– ऊर्जा क्षेत्रमा चर्चित नाम (हाल उर्जामन्त्री)
सुमना श्रेष्ठ–पूर्व शिक्षामन्त्री, पूर्व रास्वपा नेतृ

यी सबै नामहरू युवावादी सोच र भ्रष्टाचारविरोधी दृष्टिकोणका कारण बालेनको भावी टोलीमा देखिन सक्ने अनुमान गरिएको छ ।
लक्ष्य–साझा प्लेटफर्म बन्ने
बालेनको नेतृत्वमा बन्ने पार्टीले देशभर छरिएका स्वतन्त्र उम्मेदवारहरूलाई एउटै छातामुनि ल्याउने लक्ष्य राखेको छ ।

मुख्य एजेण्डा

भ्रष्टाचार अन्त्य

रोजगारी सिर्जना

युवा सशक्तिकरण

घोषणा कहिले ? दबाब चुलिंदैछ
बालेनको कोर टिमभित्रै दुई धार देखिएका छन् —
एक पक्ष–‘अहिल्यै घोषणा गरौं’

अर्को पक्ष– ‘धेरै हतार नगरौं, सही समय कुर्नु पर्छ’
बालेनका प्रमुख सल्लाहकार कुमार बेन संयमता पक्षमा देखिएका छन्, तर बालेनमाथि चौतर्फी दबाब भने दिन प्रतिदिन चुलिंदैछ ।

निष्कर्ष–नेपालको राजनीतिक इतिहास एक नयाँ मोडमा छ । जेन–जी पुस्ताको क्रान्ति, युवा चेतना र स्वतन्त्र नेतृत्वको खोजीले बालेन शाहलाई केन्द्रमा ल्याएको छ । अब सबैको नजर उनको अन्तिम निर्णय र पार्टी घोषणाको मितितर्फ छ । यदि समयमै निर्णय भयो भने यो लहर, परिवर्तनको आँधी बन्न सक्छ ।

इलाममा बालिकासहित थप चार जनाको हेलिकप्टरबाट उद्धार

काठमाडौँ । इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत झापा लगिएको छ ।

पछिल्लो अविरल वर्षाका कारण इलामको सन्दकपुर नगरपालिका–४ माबु इलाकामा पहिरोमा परी घाइते भएकालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हेलिकप्टरद्वारा झापा अस्पताल पुर्‍याइएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, घाइते हुनेमा एक बालिकासहित तीन महिला र एक पुरुष छन् । झापा मिलनबस्ती इलाकामा सेनासहितका सुरक्षा फौजके सहयोगमा गएराति मोटर बोटबाट ४८, डुङगाबाट ३१ र पैदलबाट १२ जना गरी ९१ जनाको उद्धार गरी सुरक्षितस्थानमा राखिएको छ ।

पहिराेले ग्रामीण सडक अवरुद्ध हुँदा समस्या

भोजपुर । जिल्लामा अवरुद्ध यातायात सेवा सञ्चालनको तयारी थालिएको छ । शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्का कारण बाढीपहिरोले सडक अवरोध भएका थिए ।

भोजपुर –लेगुवा सडक र देउराली–चखेवा सडकका केही स्थानका पहिरो हटाउनेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै पहिरो खस्ने, सडक भासिने र दुर्घटनाको जोखिम देखिएकाले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै आत्यश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यातायात अवरुद्ध हुँदा लामो दूरीमा यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन्, भने आवश्यक सामान आपूर्ति र जनजीवनमा समेत असर परेको छ। विशेषगरी जिल्ला बाहिर जाने, दसैँ मान्न हिँडेका यात्रु, कामकाजका सिलसिलामा यात्रा गर्ने सर्वसाधारण बढी प्रभावित भएका छन्।

यातायात व्यवसायी समितिका प्रतिनिधिले सडक अवस्था सामान्य हुनासाथ पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । हाल वर्षाका कारण जिल्लाभित्रका कतिपय ग्रामीण सडक पनि अवरुद्ध भएपछि स्थानीय बासिन्दा थप समस्यामा परेको जनाइएको छ ।

वर्षातले धानबालीमा क्षति

यसैबीच वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ। बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् । जिल्लाको अधिकांश भेगमा असोज महिनासम्म धान बाली परिपक्व अवस्थामा पुगेको हुन्छ । तर यस पटक वर्षा र हावाहुरीका कारण धानबाली क्षति पुगेको किसानको भनाइ छ । जिल्लाको बोखिम, पोखरे, दावालगायत धेरै ठाउँमा धानबालीमा क्षति पुगेको छ । जिल्लाका सवै स्थानीय तहमा धानको खेती हुने गरेको छ ।

वर्षातसँगै आएको हावाले धानबालीमा क्षति पुर्‍याएको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान रुपनारायण फुयालले बताए । बोखिम क्षेत्रका धेरै किसानको धानबालीमा वर्षातले क्षति पुर्‍याएको उनको भनाइ छ । ‘भारी वर्षातका कारण धानबालीमा क्षति पुगेको छ’, उनले भने, ‘पसाउँदै गरेको धान खेतमा ढलेर सखाप भएको अवस्था छ । अझै यस्तै अवस्था रहेमा धानबालीमा ठूलो क्षति हुने अवस्था छ ।’

अवरुद्ध रिडी–तम्घास सडक खुल्यो

गुल्मी । सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीट्याङ्की नजिकै चट्टान सहितको सुख्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो ।

सडकमा थुप्रिएको चट्टानसहितको पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास सडक खण्डमा २५ किलोमिटर सडक चौडा पार्ने र कालोपत्र गर्ने काम भइरहेको छ ।

प्रेमिकाको पीडा : मेरो छोरीलाई जोगाएर मलाई लगेको भए हुन्थ्यो भगवान् !

इलाम । दुई वर्षपछि साउदी अरबबाट दशैं मनाउन घर फर्किएका खेमकुमार सिंजाली मगरको परिवारका लागि यो वर्षको दशैं जीवनको सबैभन्दा पीडादायी क्षण र ठूलो दशा बनेर आयो ।

२४ वर्षीय खेमकुमार एक महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा उनलाई परिवारसँग बिताउने दिनको उत्साह थियो । इलाम नगरपालिका–५ घोष गाउँस्थित ससुरालीमा पुगेका उनी दशैंको टीकापछि श्रीमती प्रेमिका तामाङ र पाँच वर्षीया छोरी प्रिन्सिकासँग रमाइलो समय बिताइरहेका थिए ।

तर शनिबार राति आएको बिपद्ले सबै कुरा एकाएक बदलिदियो । आइतबार बिहान करिब ४ बजे आएको भीषण पहिरोले उनीहरू बस्दै आएको घर नै पुरिँदा पाँच वर्षीया प्रिन्सिका च्यापिएर ज्यान गुमाइन् । श्रीमती प्रेमिका घाइते अवस्थामा उद्धार भइ अहिले इलाम अस्पतालमा उपचाररत छिन् ।

प्रेमिका तामाङको आँखाबाट आँशु थामिएको छैन । छोरीको अनुहार अन्तिम पटक हेर्न पनि नपाएको पीडामा उनी भन्छिन्, ‘मेरो छोरीलाई जोगाएर मलाई किन लगिनस् भगवान् ?’ खेमकुमारलाई चार दिनपछि साउदी फर्किनु थियो, तर अब उनी असमञ्जसमा छन् । उनी भन्छन्, ‘यो घटनाले सबै सपना चकनाचुर बनायो । शायद अब विदेश नफर्की श्रीमतीको साथमा बसेर यतै केही गर्नुपर्ला ।’ खेमकुमारको घर अब मात्र इँट–पर्खाल होइन, सम्झनाहरूको चिहान बनेको छ ।

खुँडा प्रहार गरी आमाको हत्या

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा छोराले आमाको हत्या गरेका छन् । ३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रहार गरी ५४ वर्षीय आमा राममाया कँडेलको हत्या गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका उपरीक्षक भेषराज रिजालका अनुसार यमबहादुर कँडेललाई पक्राउ गरी सदरमुकाम ल्याइएको छ । हिजो राति ९ बजे पक्राउ गरिएको हो ।

प्रहरी घटनास्थल पुग्दा आमाको हत्या गरी हातमा खुँडा बोकेर हिँडिरहेको अवस्थामा भेटिएको थियो । हतियार बोकेर बाहिर हिँडिरहेको यमबहादुर छिरेपछि उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक रिजालले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान शुरु भएको छ ।

आज यी १८ ठाउँमा छन् पूर्णरुपमा राजमार्ग अवरुद्ध (सूचीसहित)

काठमाडौं । दुई दिनको अविरल भारी वर्षापछि गएको बाढी–पहिरोको कारण आज (सोमबार) पनि देशका विभिन्न राजमार्गको १८ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध छन् । केही सडकमा भने एकतर्फी खुलेको प्रहरीले जनाएको छ ।

संखुवासभास्थित कोशी राजमार्गको भोटखोला–४ बरुणखोला र संखुवासभाकै मकालु–४ एकुवामा आज सडक पूर्णरुपमा अवरुद्ध छ ।
त्यस्तै ओखलढुंगाको मानेभन्जयाङ गाउँपालिका– ६ र ७ को सीमा भएर बग्ने भँडारे खोलामा पनि बाढी आउँदा सिद्धिचरण लोकमार्ग अवरुद्ध छ । सिद्धिचरण लोकमार्गमै पर्ने उदयपुरको कटारी नगरपालिका – १४ को दलदले र कटारीकै विभिन्न ठाउँमा पनि सडक पूर्णरुपमा अवरुद्ध छ ।

त्यस्तै धनकुटाको बाख्रिाबास र साँगुरीगढीका पनि विभिन्न ठाउँमा वर्षाको कारण मध्यपहाडी र कोशी लोकमार्ग अवरुद्ध भएका प्रहरीले जनाएको छ । यस्तै इलामको इलाम नगरपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोको कारण मेची राजमार्ग अवरुद्ध छ ।

रसुवाको नेपाल चीन जोड्ने नाका, पासाङल्यामु सडक, सिन्धुपाल्चोकको भोटेकोसीस्थित अरनिको राजमार्ग, काभ्रेको रोसीस्थित बीपी राजमार्ग, मकवानपुरको बकैया–११ घट्टेपाखास्थित कान्ति लोकपथ, मकवानपुरकै भिमफेदी गाउँपालिका–८ बगुवास्थित कान्ति लोकपथ, मकवानपुरकै इन्द्रसरोवर–३ स्थित कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौँ सडक पनि आज पूर्णरुपमा अवरुद्ध छ ।

सिन्धुलीको मरिण गाउँपालिका–२ सिन्दुरेस्थित मदन भण्डारी लोकमार्गमा भने एकतर्फी गाडी चलेका छन् । सिन्धुलीकै फिक्कल गाउँपालिका–६ नागस्थानस्थित मध्यपहाडी लोकमार्ग र सुनकोशी–१ नेपालथोकस्थित बीपी राजमार्ग पनि आज पूर्णरुपमा अवरुद्ध छ ।

हेर्नुस् आज राजमार्गको अवस्था

सगरमाथाको तिब्बती मोहडामा फसे सयौं पर्वतारोही र पदयात्री

काठमाडौं । सगरमाथाको दुर्गम तिब्बती स्लोपमा आएको हिमआँधीका कारण पहाडको पूर्वी भेगका शिविरहरूमा सयौं पर्वतारोही र पदयात्री फसेका छन् । जसको उद्धार प्रयास जारी रहेको बीबीसीले जनाएको छ ।

उक्त क्षेत्र समुद्र सतहबाट चार हजार ९०० मिटरभन्दा माथिको उचाइमा छ । त्यहाँ पुग्ने बाटोमा थुप्रिएको हिउँ हटाउन सयौं स्थानीय बासिन्दा र उद्धार टोलीहरूलाई परिचालन गरिएको छ । स्थानीय सञ्चार माध्यमहरूले करिब ३५० जनाको उद्धार गरी सुरक्षित रूपमा कुडाङ सानो बस्तीमा पुर्‍याइएको रोयटर्स समाचार एजेन्सीले जनाएको छ ।

शुक्रबार साँझदेखि नै भारी हिमपात सुरु भएको थियो । यो क्षेत्र पर्वतारोही र पदयात्रीहरूका लागि लोकप्रिय मानिन्छ । कुडाङ पुग्न सफल भएका पदयात्रा समूहका चेन गेसुआङले रोयटर्सलाई भने, ‘मौसम अत्यन्त चिसो र भिजेको थियो, हाइपोथर्मियाको खतरा थियो ।’

चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार, तिब्बतको ब्लू स्काई उद्धार टोलीले भारी हिमपातका कारण पालहरू भत्किएको र केही पदयात्रीहरूमा हाइपोथर्मियाका लक्षण देखिएको भन्दै सहयोगका लागि अनुरोध प्राप्त गरेको जनाएको छ । रोयटर्सका अनुसार, टिङ्री काउन्टी पर्यटन कम्पनीले शनिबारदेखि एभरेस्ट रमणीय क्षेत्रको टिकट बिक्री र प्रवेशमा अस्थायी रूपमा रोक लगाएको छ ।

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा चल्न थाले गाडी

चितवन । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट गाडीहरु पूर्ववत रुपमा सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।

जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ सेन्टर) मा रोकिएका लामो तथा छोटो दूरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् ।नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोको जोखिम भने कायमै रहेको भन्दै प्रहरीले सावधानीपूर्वक सुरक्षित यात्रा गर्न चालक र यात्रुलाई अनुरोध गरेको छ ।

मन्त्री घिसिङ र अर्याल आज इलाम जाँदै

काठमाडौं । पहिरोबाट सबै भन्दा धेरैको ज्यान गएको क्षेत्र अवलोकन गर्न वर्तमान सरकारका दुई मन्त्रीहरु आज (सोमबार) इलाम जाने भएका छन् । मौसम अनुकूल भएमा मन्त्रीद्वय कुलमान घिसिङ र ओम प्रकाश अर्याल आज इलाम जाने भएका हुन् ।

काठमाडौंबाट झापाको भद्रपुरसम्म नियमित उडानको हवाईजहाजमा र भद्रपुरबाट इलाममा हेलिकप्टरबाट जाने तयारी छ । असोज १८ गतेको भिषण वर्षाले इलाममा ३७ जनाको मृत्यु भइसकेको छ । कयौं घाइते र बेपत्ता छन् ।

राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरु भत्किएर क्षतविक्षत भएका छन् । शुक्रबार र शनिबारको बाढी पहिरोका कारण देशभर ५३ जनाको ज्यान गएको छ ।

प्रधानन्यायाधीशसहित पार्टी र नाताका न्यायाधीश हटाउन चेतावनी

काठमाडौं । सुशासन र न्यायिक सुधारको मागसहित उत्रिएका जेनजी आन्दोलनका अगुवाहरूले न्यायालयमा दलका कोटा र नातावादका आधारमा नियुक्ति र न्यायाधीशरुलाई नहटाए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयको पहलमा शनिबार जेनजी आन्दोलनका प्रतिनिधि, सहिद परिवार र घाइते युवालगायत पाँच समूहले सरकारी टोलीसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री अनुपस्थित रहे पनि गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, अर्थमन्त्री रामेश्वर खनाल, भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ र सञ्चारमन्त्री जगदीश खरेल उपस्थित थिए ।

भेटका क्रममा जेनजी प्रतिनिधिहरूले आफ्नो आठ बुँदे चेतावनीपत्र प्रस्तुत गर्दै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित राजनीतिक दलहरूको कोटामा नियुक्त न्यायाधीशहरूलाई तत्काल हटाउन माग गरेका थिए ।

जेनजी अगुवाहरूले न्याय परिषद्को कार्यशैलीमाथि पनि गम्भीर प्रश्न उठाउँदै ‘न्यायिक भ्रष्टाचार ढाकछोप गर्ने संस्था’ भएको आरोप लगाए । सरकारका तर्फबाट मन्त्रीहरूले संवैधानिक सीमा र सरकारको म्यान्डेटबारे प्रष्ट्याउने प्रयास गरेका थिए ।

संविधानअनुसार प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीशहरूलाई हटाउन संसदको दुई–तिहाइ बहुमत आवश्यक पर्ने प्रावधानबारे जानकारी दिइयो । तर, जेनजी प्रतिनिधिहरूले यो विषयमा आफ्नो अडान नबदल्ने चेतावनी दिए ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले पनि भ्रष्टाचारविरुद्ध आक्रामक कारबाहीमा उत्रिने कि पद त्याग्ने भन्ने निर्णय गर्नुपर्ने माग उनीहरूले राखे । बैठकमा उपस्थित मन्त्रीहरूले जेनजी प्रतिनिधिहरूका मागहरू ध्यानपूर्वक सुनेका थिए । गृहमन्त्री अर्याल र कानुनमन्त्री सिन्हाले संवैधानिक प्रावधानका कारण केही माग तत्काल पूरा गर्न नसकिने बताए पनि ठोस धारणा भने नदिएको बताइएको छ ।

बाढी–पहिरो अपडेट : यी हुन् ५३ मृतक र बेपत्ता (नामावली)

काठमाडौं । दुई दिन (शुक्रबार र शनिबार) को अलिरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनको संख्या ५३ पुगेको छ ।देशभर ज्यान गुमाउनेको संख्या ५३ पुगेको नेपाल प्रहरीले जनाएको छ ।

जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममा ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

गत शुक्रबार र शनिबार निरन्तर आएको वर्षा र त्यसपछिको बाढीपहिरोले मानवीय र भौतिक क्षति पुर्‍याएको छ । अहिले पनि विभिन्न जिल्लाका विवरणहरू संकलन गर्ने क्रम जारी छ ।

मृत्यु भएकाहरुको विवरण 


बेपत्ता भएकाहरुको विवरण

‘गुण्डा नाइके’ सानुभाइ पक्राउ

काठमाडौं । ‘गुण्डा नाइके’ सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । विभिन्न व्यक्तिलाई धाकधम्की दिएको पाइएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताएका छन् ।

यसअघि उनी ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका थिए । गुरुङ नुवाकोट ककनीका हुन् । पछिल्लो समय आफूलाई जेनजी भन्दै उनले केही व्यावसायिक व्यक्तिलाई धम्क्याएको सूचनापछि उनलाई प्रहरीले खोजी गरेको प्रहरी स्रोतले जनाएको छ ।

जापानमा पहिलो महिला प्रधानमन्त्री बन्दै अनुदारवादी नेत्री ताकाइची

काठमाडौं । साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा छिन् तर उनका विचारहरू अझै पनि गहिरो पितृ सत्तात्मक समाजका लागि सामाजिक रूपमा रूढीवादी मानिन्छन् ।

मार्गरेट थ्याचरलाई आफ्नो प्रेरणा मान्ने ताकाइची शनिबार सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को प्रमुखमा निर्वाचित भइन् र सम्भवतः यही महिनाको अन्त्यमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछिन् । उनले ‘नर्डिक देशहरू जस्तै’ महिला प्रतिनिधित्वसहितको मन्त्रिपरिषद् बनाउने वाचा गरेकी छन् । हालका प्रधानमन्त्री सिगेरू इसिबाको नेतृत्वमा दुई जना मात्र महिला मन्त्री थिए ।

६४ वर्षीया ताकाइचीले महिलाको स्वास्थ्य संघर्षका विषयमा जनचेतना बढाउने आशा व्यक्त गरेकी छन् र रजोनिवृत्तिको आफ्नै अनुभवबारे खुलेर बोलेकी छन् । यद्यपि, लैङ्गिक समानतासम्बन्धी उनका नीतिहरू अत्यन्तै रूढीवादी मानिन्छन् । उनी १९औं शताब्दीको कानूनी प्रावधानमा भएको प्रस्तावित संशोधनको विरोधमा छिन्, जसले विवाहित जोडीहरूलाई एउटै थर लिन बाध्य पार्छ । यस कारण धेरै महिलाहरू पतिको थर लिन बाध्य हुने गर्छन् ।

ताकाइची जापानको शाही परिवारले पुरुष–मात्र उत्तराधिकार प्रणाली कायम राख्नुपर्ने पक्षमा छिन् र समलिङ्गी विवाहको समेत ‘मौलिक रूपमा विरोध’ गर्छिन् । टोकाई विश्वविद्यालयकी राजनीति तथा लैङ्गिक अध्ययन विज्ञ प्राध्यापक युकी सुजीका अनुसार ताकाइचीलाई महिला अधिकार वा लैङ्गिक समानतामा खास चासो छैन ।

उनले भनिन्, ‘त्यसैले अघिल्ला एलडिपी प्रशासनहरूका तुलनामा यस क्षेत्रमा ठूला नीतिगत परिवर्तनको सम्भावना छैन ।’ सुजीका अनुसार महिला प्रधानमन्त्रीका रूपमा ताकाइचीको प्रतीकात्मक उपस्थिति ‘धेरै महत्वपूर्ण’ हुनेछ, तर यदि उनी असफल भइन् भने ‘महिला नेतृत्वबारे नकारात्मक धारणा अझै बलियो बन्न सक्छ ।’

गर्व र आशा
टोकियोकी कार्यालय कर्मचारी ५० वर्षीया युकाले ताकाइचीको जितप्रति खुशी व्यक्त गर्दै भनिन्, ‘अब हामी विश्वलाई गर्वका साथ भन्न सक्छौँ कि जापानसँग पहिलो महिला नेता हुन लाग्नु भएको छ ।’ तर उनी ताकाइचीको नेतृत्वमा लैङ्गिक समानतामा ठूलो प्रगति हुने अपेक्षामा भने सशङ्कित छिन् ।

गत वर्ष पूर्व केबिन परिचारिका मित्सुको टोटोरी जापान एयरलाइन्सकी मालिक बन्न सफल भइन्, तर त्यस्तो उपलब्धि जापानको कर्पोरेट संसारमा अझै दुर्लभ छ, जहाँ लामो कार्यसमय र सीमित बाल हेरचाह सुविधाले महिलालाई पछि पार्दछ । सन् २०२१ मा जापानमा महिलाले जम्मा १३.२ प्रतिशत व्यवस्थापकीय पद ओगटेका थिए, जुन आर्थिक सहयोग तथा विकास सङ्गठनका सदस्य देशहरूमध्ये सबैभन्दा कम हो ।

विश्व आर्थिक मञ्चको ग्लोबल जेन्डर ग्याप रिपोर्ट–२०२५ अनुसार जापान १४८ देशमध्ये ११८औं स्थानमा छ । ‘यहाँ धेरै सक्षम महिलाहरू छन्, तर नेतृत्वका अवसरहरू प्रायः पुरुषहरूले कब्जा गर्छन्’, युकाले भनिन्, ‘धेरै महिलाहरू आफ्ना छोराछोरी वा बुढेसकालका आमाबाबुको हेरचाहका कारण करियरको शिखरमा पुग्नुअघि नै छोड्न बाध्य हुन्छन् ।’

राजनीतिमा चुनौतीहरू
जापानी संसद्को तल्लो सदनमा महिलाको प्रतिनिधित्व मात्र करिब १५ प्रतिशत छ । उल्लेखनीय अपवाद भनेकी टोकियोकी गभर्नर युरिको कोइके हुन् जसले निःशुल्क डे केयर जस्ता महिला–मैत्री कार्यक्रमहरू ल्याएका छन् ।

महिला सांसदहरूले राजनीतिज्ञ र गृहिणी दुवै भूमिकाको सन्तुलन गर्न कठिनाइ झेलेका छन् — जुन उनीहरूको पुरुष समकक्षका लागि समस्या ठानिँदैन । उनीहरूले प्रायः लैङ्गिक पूर्वाग्रहपूर्ण टिप्पणी र अपमानजनक व्यवहार पनि सहनुपरेको छ । सन् २०२४ मा तत्कालीन उपप्रधानमन्त्री तारो एसोले विदेशमन्त्री योको कामिकावालाई ‘आन्टी’ र ‘त्यति सुन्दर नभएको’ भन्दै सार्वजनिक रूपमा टिप्पणी गरेकी थिइन् ।

मिटु आन्दोलनले जापानमा धेरै प्रभाव जमाउन सकेको छैन, यौन दुव्र्यवहारका पीडितहरू अगाडि आउन अझै हिचकिचाइरहेका छन् । पूर्व सैनिक रिना गोनोई र पत्रकार शिओरी इतोले आफ्नो बहादुरीका कारण प्रशंसा पाएका भए पनि तीव्र अनलाइन घृणा अभियानको सामना गर्नुपरेको थियो । ‘विगतमा जापानमा महिला सम्राटहरू भएका थिए, तर महिला प्रधानमन्त्री कहिल्यै थिएनन्’, अपाङ्गता भएका व्यक्तिहरूको हेरचाहमा कार्यरत २३ वर्षीया रयुकी तात्सुमीले भनिन्, ‘त्यसैले यो जापानका लागि प्रगति गर्ने ऐतिहासिक अवसर हुनसक्छ ।’

विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा नरोक्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विपदको जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा नरोक्न निर्देशन दिएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो ।

सरकारले यसअघि विपद्को सम्भावित जोखिम कारण आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएको थियो । तर, बाढी–पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुँदा दशैँ मनाउन घर गएकाहरू कार्यस्थलमा फर्किन अझै समय लाग्ने देखिएको छ ।

मन्त्रालयका सहसचिव जयनारायण आचार्यले भने, ‘जिल्लाको अवस्था के कस्तो छ भनेर प्रमुख जिल्ला अधिकारीहरूले निर्णय गर्छन् । विपद्जन्य अवस्था छैन भने कार्यालयहरूले सेवा दिनुपर्छ ।’

काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पनि विपद्जन्य अवस्था नरहेकाले अब सेवा निरन्तर गर्नुपर्ने उनले बताए । शुक्रबारदेखि भीषण वर्षा भएपछि सरकारले सम्भावित विपद्लाई मध्यनजर गरी आइतबार र सोमबार दुई दिन बिदा घोषणा गरेको थियो । तर, आइतबारबाट मौसममा सुधार हुन थालेपछि सोमबारको बिदा कटौती गरेको हो ।

काभ्रेमा पहिरोसँगै आएको ढुंगाले लागेर महिलाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेको रोशीमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर एक महिलाको ज्यान गएको छ । आइतबार अपराह्न ४ बजेतिर रोशी गाउँपालिका–११ स्थित भैंसेमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर ५६ वर्षीया बिमलादेवी तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

बिमलादेवी घर नजिकै लुगा धुन जाने क्रममा पहिरोसँगै आएको ढुंगाले लागेर मृत्यु भएको थियो । कार्कीका अनुसार प्रहरीको सहीको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए ।

बाढी–पहिरो अपडेट : देशभर ज्यान गुमाउनेको संख्या ५२ पुग्यो

काठमाडौं । दुई दिन (शुक्रबार र शनिबार) को अविरल वर्षाका कारण आएको बाढी–पहिरो परेर देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो ।

जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

 

 

सुनसरीमा बाढीले सयौं घर डुबानमा

सुनसरी । लगातारको वर्षाले सुनसरीमा बाढीपहिरोको जोखिम बढेको छ । सुनसरीमा बाढीका कारण आज करिब एक हजार ३६ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले वर्षाका कारण खोलानाला बढेपछि जिल्लाका विभिन्न नगर तथा गाउँपालिका क्षेत्रका बस्तीहरूमा बाढी पसेको बताए । डुबानमा परेका अधिकांश घरहरूबाट मानिसहरू अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको पनि उनले जानकारी दिए ।

यहाँको भोक्राहा नरसिंह गाउँपालिका–५ मा करिब ३०० घर, बराहक्षेत्र नगरपालिका–८ मा १६० घर र इनरुवा नगरपालिका–१० को जाल्पापुर क्षेत्रमा ३०० भन्दा बढी घरभित्र बाढी पसेको जनाइएको छ । त्यस्तै, इनरुवा–४, ८, ९ र १०, रामधुनी–६, ७ र इटहरी उपमहानगरपालिका–५ का बस्तीहरूमा पनि केही घर डुबानमा परेका छन् । प्रवक्ता खतिवडाले भने, ‘धेरैजसो सुकुम्वासी बस्ती डुबानमा परेका छन्, तर पूरै विस्थापित हुने गरी डुबान भएको छैन । सुरक्षा निकायले निरन्तर निगरानी गरिरहेका छौँ ।’

बाढीका कारण इनरुवा–४ स्थित जानोद्दय आधारभूत विद्यालय र भोक्राहास्थित कार्डियो न्युरो अस्पतालसमेत प्रभावित भएका छन् । अस्पताल परिसर डुबानमा परेपछि सशस्त्र प्रहरी बलको सहयोगमा डुङ्गामार्फत चिकित्सकलाई अस्पतालभित्र पु¥याइएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

बराहक्षेत्र नगरपालिका–८ स्थित दोभान खोलाले ४५ वर्षीय नवराज उरावलाई बगाएको छ । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रभावित क्षेत्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह तथा अन्य निकायका टोलीहरू उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन् ।

बाढीबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने, राहत वितरण गर्ने र थप क्षति हुन नदिन सतर्कता अपनाउने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । यसैबीच धरान उपमहानगरपालिका–१३ स्थित धरान–भेडेटार सडकखण्ड निसानेमा गए राति गएको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ ।

गृहमन्त्रीसँग लिखित आपत्ति

काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगजनी, तोडफोड, लुटपाट र आतंक फैलाउनेलाई कानूनी कारबाही गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष माग गरिएको छ । धर्मराज तिमिल्सिनाले गृहमन्त्रीलाई भेटेर लिखित निवेदन बुझाएका हुन् ।

यसअघि सामाजिक सञ्जालका फोटो, भिडिओ साथै प्रहरीले पाएको सूचनाको आधारमा केही व्यक्तिलाई पक्राउ थालिए पनि उनीहरूलाई अहिले पक्राउ नगर्न गृहको निर्देशनसँगै यो प्रक्रिया रोकिएको थियो ।

गृहमन्त्री समक्ष दिइएको निवेदनमा जेनजी आन्दोलनका नाममा अराजक तत्वको घुसपैठबाट देशका विभिन्न स्थानहरूमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट, नागरिकको निर्मम हत्या तथा आतंक फैलाउने अमानवीय कार्य भएको उल्लेख छ ।

‘यस्तो गतिविधिले सर्वसाधारण नागरिकको जीवन त्रासदीपूर्ण रहेको छ । नेपालको संविधान बमोजिम प्राप्त मौलिक हक तथा मानव अधिकारको हरण, हनन र हस्तक्षेप भएको छ, र नेपालको संविधान बमोजिम प्राप्त शान्तिपूर्ण भेला हुन पाउने अधिकारको दुरुपयोग गरी शान्ति सुरक्षामा प्रतिकूल असर पारेको छ’, निवेदनमा भनिएको छ ।

यस्ता गतिविधिमा मुलुकी अपराध संहिता ऐन, संगठित अपराध निवारण ऐन, स्थानीय प्रशासन ऐन, सार्वजनिक सम्पत्ति (संरक्षण) ऐनलगायत अन्य प्रचलित कानूनी प्रावधानहरू आकर्षित हुने स्मरण गराइएको छ ।

घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल छानबिन गरी कानूनी कारबाही गर्न, तोडफोड, आगजनी तथा लुटपाटबाट प्रभावित पीडितहरूलाई न्याय दिलाउन, सार्वजनिक, निजी सम्पत्ति र नागरिकको शान्ति सुरक्षाको संरक्षणका प्रभावकारी निवारक उपाय तत्काल लागू गर्न पनि उनले माग गरेका छन् ।

आन्दोलनको नाममा निजी तथा सार्वजनिक सम्पत्ति आगजनी, तोडफोड र लुटपाट गर्ने, नेपाल प्रहरी लगायत आम नागरिकको निर्मम हत्या गर्नेलाई त्यसै छाड्दा अपराधकर्मीको मनोबल बढ्ने साथै नेपाल प्रहरीको मनोबल घट्ने भन्दै विधिको शासन स्थापित गर्न आग्रह गरिएको छ । विध्वंशकारी मात्रै नभई विध्वंस गर्न प्रेरित गर्ने योजनाकारलाई पनि कारबाहीको दायरामा ल्याउन उनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

भैरहवामा अलपत्र यात्रुका लागि तोकियो भाडा, अनलाइनमा टिकट पाइने

काठमाडौं । नेपाल वायुसेवा निगमले भोलि (सोमबार) काठमाडौँ–भैरहवा–काठमाडौँ उद्धार उडानको तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निगमले भैरहवामा अलपत्र यात्रुको उद्धारका लागि उडानको व्यवस्था गरेको हो ।

निगमको ए३२० विमान दिउँसो १ बजे काठमाडौँबाट भैरहवा उड्ने र भैरहवाबाट काठमाडौँका लागि २ बजेर ४५ बजेट छुट्ने जनाइएको छ ।काठमाडौँबाट जाँदा निगमले ५ हजार रूपैयाँ र भैरहवाबाट उड्दा ७ हजार रूपैयाँ भाडा तोकिएको छ । यस मानवीय उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुहरूलाई विशेष प्राथमिकतामा राखिने निगमले जनाएको छ ।

उडानमा यात्रा गर्न चाहने यात्रुले अनलाइनबाट पनि टिकट काट्न उक्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ । यस बाहेक निगमको कार्यालय वा आधिकारिक एजेन्सीहरूमार्फत पनि सिट सुनिश्चित गर्न सकिने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मनाङको उपनिर्वाचन स्थगित

काठमाडौं । कात्तिक १७ गतेका लागि तय भएको मनाङ प्रदेशसभाको उपनिर्वाचन स्थगित भएको छ । आइतबार सरकार र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलपछि त्यस दिनको उपचुनाव नगर्ने समझदारी भएको हो।

चुनाव स्थगित भएको बताउँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अर्को मिति तय गर्ने जानकारी दिए । प्रतिनिधिसभा विघटनसँगै रुपन्देही ३ को प्रतिनिधिसभा उपचुनाव भने यसअघि नै रद्द भइसकेको छ ।

 

सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा, अरु कहाँ कति ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान ०४ः३० देखि आज बिहान ०४ः३० बजेसम्म रौतहटको महेशपुरमा अधिकतम वर्षा भएको जनाएको छ ।

बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको कारणले यही असोज १७ गते साँझदेखि आज बिहानसम्म मनसुन सक्रिय भई मधेस र बागमती प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा भारीदेखि अति भारी वर्षा तथा कोशी प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा मध्यमदेखि अति भारी वर्षा मापन भएको विभागले जनाएको छ । त्यस क्रममा रौतहटमा ३५८ मिमी वर्षा मापन भएको विभागले जनाएको हो ।

गत २४ घण्टाको वर्षाको विवरणअनुसार १८६ वटा केन्द्रमा वर्षा मापन गरिएको छ । जसमध्ये १०५ वटा केन्द्रमा ५० मिमीभन्दा बढी, ६८ वटा केन्द्रमा १०० मिमीभन्दा बढी, २१ वटा केन्द्रमा २०० मिमीभन्दा बढी र पाँचवटा केन्द्रमा ३०० मिमीभन्दा बढी वर्षा मापन भएको छ ।

३०० मिमीभन्दा बढी वर्षा मापन भएका केन्द्रहरूमा इलाम जिल्लाको हिमाली गाउँ केन्द्र (३३२ दशमलव छ मिमी) र कन्याम टी स्टेट केन्द्र (३१४दशमलव दुई), पर्सा जिल्लाको मुडली केन्द्र (३२८ दशमलव छ), रौतहट जिल्लाको महेशपुर केन्द्र (३२८ मिमी) र गौर केन्द्र (३१५ मिमी) रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागका प्रवक्ता विभूति पोखरेलले अविरल वर्षाका कारण शनिबार अपराह्नबाट उल्लिखित प्रदेशअन्तर्गतका बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमलालगायतका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको र हाल घट्दो क्रममा रहेको जानकारी दिए ।

सप्तकोशी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक, राखियो रातो झण्डा

सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।

आज बिहान ११ः०० बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर पाँच लाख १० हजार ९६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा पछिल्लो मापनअनुसार पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको उनले बताए । पानीको बहाव उच्च भएपछि खतराको संकेत स्वरुप रातो बत्ति बाली रातो भण्डा समेत फहराइएको छ ।

यसैगरी कोशी ब्यारेज वरिपरी सवारीसाधान सञ्चालनमा समेत रोक लगाइएको छ । यसैबीच आज प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सुरक्षाकर्मीसहित नेपाली टोली र भारतको बिहार सरकार जल संसाधन विभागको टोलीले कोशी ब्यारेजको निरीक्षण गरेको छ ।

चितवन हुँदै राति ९ बजेसम्म गाडी चलाउन पाइने

चितवन । अविरल बर्षाका कारण राजमार्गमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै चितवन प्रशासनले साँझ ६ बजे भित्रिन र छोड्ने तोकेको समय बढाएर ९ बजे पुर्‍याएको छ ।

हिजो बेलुकादेखि नै चितवनमा झरी रोकिएको र मनसुनको जोखिम कम हुँदै गएको जनाउँदै राति ९ बजेसम्म गाडी चलाउन खुला गरिएको हो। चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले चितवन हुँदै काठमाडौं र पोखरा जाने र चितवनतर्फ भित्रिने सवारीको लागि ६ बजेको समय परिमार्जन गरी राति ९ बजेसम्म पुर्‍याइएको जानकारी दिए ।

राजमार्गको जोखिम कायमै रहेकाले चितवन छोड्ने र भित्रिने सवारी साधनलाई राति ९ बजेपछि भने होल्डिङ सेन्टरमा रोकिने जनाइएको छ । आज दिन खुलेसँगै झरीको कारण चितवनमा रोकिएका सवारी साधनलाई गन्तव्यमा पनि पठाइएको चितवन प्रशासनले जनाएको छ ।

कोशी व्यारेजमा ठूला गाडी चलाउन रोक, विहारमा पस्यो बाढी

सुनसरी । सप्तकोशी नदीमा पानीको सतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खुला गरिएको छ । त्यहाँबाट अत्यधिक भारयुक्त (हेभी) सवारी साधनलाई आवतजावतमा रोक लगाइएको सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेवेले जनाएका छन् ।

साना र मझौला सवारी साधनलाई रोक छैन । आइतबार अपराह्नदेखि फेरि भारी वर्षाको क्रम शुरु भएपछि हेभी गाडीलाई कोशी व्यारेजमा रोक लगाइएको थेवेले बताएका छन् । अहिले सुनसरीसहित कोशी प्रदेशका विभिन्न पहाडी जिल्लामा वर्षाको क्रम जारी छ । त्यसैले उच्च सतर्कता अपनाइएको एसपी थेवे बताए ।

कोशी व्यारेजका सबै ढोका खुला गरिएपछि भारतको सुपौलको पूरै र अररिया जिल्लाका केही भागमा बाढी पसेको छ । बाढीबाट भीमनगर, वीरपुर, बसमतियासहितका बस्ती उच्च जोखिममा छन् । त्यहाँका बासिन्दा सुरक्षित स्थलतर्फ लागिरहेको वीरपुरका बासिन्दा रक्की सिंहले बताए । कोशी व्यारेको निरीक्षण गर्न अहिले प्रदेश सरकारका मन्त्री रेवती भण्डारीसहितको टोली त्यहाँ पुगेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार व्यक्ति पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार रहेका दाङको तुलसीपुर उपमहानगरपालिका–१६ प्रतिवादी सन्देश शर्मालाई पक्राउ गरेको छ ।

निजलाई ललितपुरबाट पक्राउ गरी कारागार पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । फरार व्यक्ति गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेर फरार रहेका थिए ।

भैरहवामा अलपत्र यात्रु लिन निगमको जहाज भोलि मात्रै जाने

काठमाडौं । नेपाल वायुसेवा निगमको भैरहवा उडान भोलि (सोमबार) दिउँसो १ बजे मात्रै हुने भएको छ । दशैंका बेला राजमार्ग अवरुद्ध भएपछि सरकारले भैरहवामा निगमलाई अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट उद्दार उडान गर्न निर्देशन दिएको छ ।

दुईटा जहाज ग्राउन्डेड भएको निगमले भैरहवामा सोमवार एक बजे मात्रै उडान गर्न सकिने जानकारी गराएको छ । ‘काठमाडौं–भैरहवा–काठमाडौं उडान निगमको न्यारोबडी जहाजले गर्ने छ, काठमाडौंबाट १ बजे जहाज उड्नेछ,’ निगमका प्रवक्ता सुवास डाँगीले भने ।

आजै उडान गर्नेगरी जिल्ला प्रशासन कार्यालयमा एप्रुभल लेटर समेत पुगिसकेको थियो । तर, निगमले समय तालिका परिवर्तन गर्दै भोलि मात्रै उडान गर्ने भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अलपत्र यात्रुहरूको गुनासो आएपछि प्रधानमन्त्री सुशीला कार्कीले मुख्य सचिवलाई तत्काल उद्धार गर्न निर्देशन दिएकी थिइन् ।

सोही अनुसार, मुख्यसचिवले जिल्ला प्रशासनमार्फत काम अघि बढाएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । भैरहवा विमानस्थलमा रहेको नेपाल एयरलाइन्सको काउन्टरमा गएर आफ्ना समस्याबारे जानकारी गराउन पनि प्रशासनले अपिल गरेको छ । यात्राबारे बुझ्न र टिकट लिनका लागि नेपाल एयरलाइन्स, भैरहवाका कर्मचारी अरुण पन्थी (९८५७०२३६७१) मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।