`

तीन–चार दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ

काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बीपी राजमार्ग यथाशक्य छिटो सञ्चालन गर्ने सरकारले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) यथाशक्य सुचारु गरिने बताए ।

भौतिक पूर्वाधार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले ३÷४ दिनभित्रमा उक्त सडक सुचारु हुने बताएका छन्। वीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउनेगरी अवरोध हटाउने र डाईभर्सन बनाउने काम सुरु भएको उनको भनाइ छ ।

‘जुन सडकहरूमा क्षति भएको छ । विशेष गरेर भकुण्डेवेशी–नेपालथोक जाने सडकलाई तत्कालै, काम सुरु गरिसकेका छौं । यसलाई छिटोभन्दा छिटो ३÷४ दिनभित्रमा भनेका छन्,’ मन्त्री घिसिङले भने, ‘सकेसम्म त्यो भन्दा छिटो गर्ने गरेर ईक्युप्मेन्टहरू मोबिलाइज गर्नेगरी अघि बढेका छौं । अहिलेको लागि वैकल्पिक बाटोहरू प्रयोग गर्न अनुरोध गर्छु ।’

अवरुद्ध सडक सुचारु गर्न सबै संयन्त्र परिचालन
हालै देशका विभिन्न स्थानहरूमा देखिएका बाढी र पहिरोका कारण सडकमा क्षति पुगेको छ । बाढीपहिरो र अन्य घटनाले सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक मर्मत तथा पुनः सञ्चालनका लागि आवश्यक उपकरण, जनशक्ति र स्रोत परिचालन गरी काम अघि बढाइरहेको जनाएको छ । विशेष गरी प्रमुख राजमार्गका अवरुद्ध खण्डहरू खुलाउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सडक विभागले यातायात यथाशीघ्र पुनः सुचारु गर्न आवश्यक सबै जनशक्ति, उपकरण र स्रोत परिचालन गरिएको जनाएको हो । प्रमुख राजमार्गका अवरुद्ध खण्डहरूमा दिनरात मर्मत कार्य तीब्र रूपमा जारी रहेको र बाँकी सडकहरू पनि शीघ्र सञ्चालनमा ल्याउने प्रतिबद्धता मन्त्रालयले गरेको छ ।

हिजोदेखि नै मेसिन र जनशक्ति परिचानल गरी काठमाडौंबाट– पश्चिम–मुग्लीन हुदै पोखरा र नारायणघाट तर्फ जाने पृथ्वी राजमार्ग, नारायणघाट–मुग्लिन राजमार्गका अवरोध हटाई सवारी सञ्चालन हुनसक्ने बनाईसकिएको मन्त्रालयले जनाएको छ ।

अवरुद्ध वीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउनेगरी अवरोध हटाउने र डाईभर्सन बनाउने काम सुरु भएको समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र स्थानीय निकायसँग सहकार्य गरी सडक चाँडै सञ्चालनमा ल्याउन प्रयास भइरहेको जनाएको छ ।

सडकको अद्यावधिक जानकारीका लागि सडक विभागको आधिकारिक वेबसाइट वा विभागको कल सेन्टर ९८५१४१६८९३ मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै घाइते तथा प्रभावित नागरिकप्रति सहानूभूती व्यक्त गर्दै कठिन परिस्थितिमा पनि धैर्य र संयम राख्न अनुरोध गरेको छ ।

 

बाढी–पहिरो : यी हुन् इलाममा ज्यान गुमाउने (नामावली)

विराटनगर । शनिबार साँझदेखिको अविरल भारी वर्षापछि पहिरो खस्दा इलाममा मृत्यु भएका ३७ जनाको पहिचान खुलेको छ । पहिरोमा परेर १७ जना पुरुष र २० जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढि देउमाई नगरपालिका र माई जोगमाई गाउँपालिकाका छन् । त्यहाँ ८÷८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै फाकफोकथुंग गाँउपालिकामा एक जनाको मृत्यु भएको छ । शनिबार साँझबाट परेको अबिरल बर्षका कारण एक जना बेपत्ता भएका छन्। ८ जना घाइते भएका छन् ।

हेर्नुस् ज्यान गुमाउनेहरुको नामावली

बाढी–पहिरो र चट्याङबाट देशभर ४३ को मृत्यु, इलाममा मात्र ३७ जना

काठमाडौं । असोज १७ गतेदेखिको लगातारको भारी वर्षाका कारण देशभर ४३ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरणअनुसार मृत्यु हुनेमध्ये इलामका मात्र ३७ जना रहेका छन् ।

प्राधिकरणका अनुसार रौतहटमा ३ जना, पाँचथरमा १ जना, खोटाङमा १ जना र उदयपुरमा १ जनाको मृत्यु भएको छ । यस्तै पाँच जना हराइरहेका छन् । बेपत्तामध्ये स्याङ्जामा ४ जना खोलाले बगाएको र इलाममा १ जना पहिरोमा पुरिएको प्राधिकरणले जनाएको छ ।

घाइतेको संख्या १२ पुगेको छ । जसमा इलाममा ४ जना, भोजपुरमा ३ जना, खोटाङमा ३ जना, पाँचथरमा १ जना र मकवानपुरमा १ जना घाइते भएका छन् । अत्यधिक वर्षाका कारण इलामको माङसेबुङमा अलपत्र परेका २ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

सरकारले असोज १८ देखि २० गतेसम्म लामो दूरीका सवारी साधन सञ्चालन रोक्दै उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको छ । स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका परिवारलाई सुरक्षित स्थानमा सार्ने र उद्धार–राहतका लागि सुरक्षा निकायलाई परिचालन गरेका छन् ।

बाढी–पहिरोमा ज्यान गुमाउनेको परिवारलाई तत्काल दुई लाख राहत, घाइतेको निःशुल्क उपचार

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी–पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहतस्वरूप तत्काल दुई लाख उपलब्ध गराउन निर्देशन दिएको छ ।

प्राधिकरणले स्थानीय तहसँग समन्वय गरेर मृतकका परिवारलाई दुई लाखका दरले सहयोग उपलब्ध गराउँदै घाइतेको निःशुल्क उपचार गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । प्राधिकरणका कार्यकारी प्रमुख इ.दिनेश प्रसाद भट्टले क्षति पुगेका जिल्लाहरुमा उद्धार तथा राहत तत्काल पु¥याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको जानकारी दिएका छन् ।

प्राधिकरणले बाढी र पहिरोले सबैभन्दा धेरै धनजनको क्षति पु¥याएको इलाम जिल्लामा मात्रै ७० लाख रुपैयाँ तत्काल उपलब्ध गराएको छ ।‘भर्खरै इलाममा बढी क्षति पुगेका कारण त्यहाँ हामीले ७० लाख उपलब्ध गराएका छौं । अन्य जिल्लामा भने यसअघि नै जिल्ला विपत् कोषमा पैसा पर्याप्त रहेका कारण सोहीबाट खर्च गर्न निर्देशन दिएका छौँ’, उनले भने । प्राधिकरणले तत्काल सहयोग उपलब्ध गराउन तथा खोज उद्धार र राहत पुनस्र्थापनाका कार्यलाई निरन्तरता दिन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुलाई निर्देशन दिएको हो ।

भैरहवामा अलपत्र ७०० यात्रुलाई चार्टर जहाजमा काठमाडौँ ल्याइँदै

काठमाडौं । भैरहवा विमानस्थलमा दुई दिनदेखि अलपत्र यात्रुको उद्धारका लागि नेपाल वायु सेवा निगमको ठूलो जहाज पठाइने भएको छ ।प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निगमले चार्टर गरी ठूला जहाज पठाउन लागेको हो । मौसमका कारण हिजो दिनभर आन्तरिक उडान अवरुद्ध भएका थिए ।

टिकट काटिसकेर पनि काठमाडौँ आउन नसकेका यात्रुहरूलाई उद्धार गर्न प्रधानमन्त्री कार्कीले मुख्य सचिव एकनारायण अर्याललाई निर्देशन दिएकी थिइन् । मुख्य सचिव अर्यालले निगमसँग समन्वय गरी उडानको तालिका बनाउन लगाएका छन् ।

‘सबै यात्रुको उद्धार हुने गरी व्यवस्थापन मिलाउन प्रधानमन्त्री ज्यूले निर्देशन दिनु भएको छ,’ प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले भने, ‘आज साँझ एउटा उडान हुन्छ । भोलि बिहान अर्को उडान हुन्छ ।’

नेपालको बाढी–पहिरोको क्षतिप्रति मोदीले भने–जुनसुकै सहयोग गर्न तयार छौं

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आज सामाजिक सञ्जाल एक्समार्फत यस कठिन समयमा आफू नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताएका छन् ।

साथै प्रधानमन्त्री मोदीले विपद्को घडीमा छिमेकी मित्र राष्ट्रका हैसियतले आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पहिरोले पुर्दा इलाममा एकै परिवारका ६ को मृत्यु, चार जना घाइते

इलाम । लगातारको बर्षासँगै गएकाे पहिरोले घर पुर्दा इलाम नगरपालिका–६ घोषस्थित नवबुद्ध आदर्श टोलमा एकै परिवारका ६ जनाको ज्यान गएको छ । आइतबार बिहान पहिरो जाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको हो ।

भारी वर्षाका कारण गएको पहिरोले स्थानीय डम्बर तामाङको घर पुरिँदा ठूलो जनधन क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। मृतकहरूमा ४० वर्षीय अनु तामाङ, २१ वर्षका प्रशान्त तामाङ, २१ वर्षका बिराज तामाङ, १२ वर्षका समीर राई, ७–८ वर्षकी प्रिन्सिका मगर र करिब ३–४ वर्षका एक बालक रहेको इलाम नगरपालिका–६ का वडा अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए ।

मृतक नाबालकको उद्धार गरी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । घटनामा चार जना घाइते भएका छन् । दशैं भएको कारण पाहुना लाग्न आएका ६–७ जनाले भागेर ज्यान बचाएका छन् । जसमा वृद्ध दम्पती पनि छन् । उनीहरू करिब ८० वर्ष नाघेका छन् । वडा अध्यक्ष श्रेष्ठका अनुसार डम्बर तामाङको घर पूर्ण रूपमा पुरिएको छ ।

माईखोला गाउँ पस्दा झापामा ५०० परिवार विस्थापित

झापा । लगातारको वर्षाका कारण झापाको झापा गाउँपालिका र शिवसत्ताक्षी नगरपालिकाका विभिन्न वडामा माई खोलाको बाढी पसेको छ । गाउँमा बाढी पस्दा दुई पालिकाका करिब ५ सय परिवार विस्थापित भएका प्रहरीले जनाएको छ ।

झापा गाउँपालिका–२ सुगा बथानमा बाढी गाउँ पसेको हो । गाउँमा माईखोला पस्दा ५६ घर विस्थापित भएका छन् । उनीहरूलाई उद्धार गरी नजिकैको विद्यालयमा स्थानान्तरण गरी गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा गाउँपालिका–१, ६ र ७ मा बाढी गाउँ पसेको छ । दर्जनौँ परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । झापाकै शिवसताक्षी नगरपालिका–४, ५, ६ र ७ मा समेत करिब ३५० घरमा बाढी पसेको छ ।

प्रहरी र स्थानीयको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पानी निरन्तर परिरहेको कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत मेची नगर नगरपालिका–६ कालिखोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको छ ।

शिवसत्ताक्षी १० मा आएको बाढीले सुकुना खोलाको ह्युमपाइपमा क्षति पुर्‍याउँदा राजमार्गमा आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै भद्रपुर नगरपालिका– ६ मा २५ घर डुबानमा परेका छन् । घर डुबानमा परेपछि स्थानीयलाई आफन्तहरूले सुरक्षित स्थानमा लगेका छन्।

इलाममा पहिरोले पुर्दा दुईको मृत्यु, कम्तिमा १० जना बेपत्ता

इलाम । इलाममा पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको छ । कम्तिमा १० जना बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् । यद्यपि यो संख्या प्रहरीबाट पुष्टि हुन बाँकी छ ।

इलाम प्रहरीका अनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिकालगायतका स्थानमा घर पुरिएको प्रारम्भिक विवरण आएको छ । तर कठिन भूगोलका कारण प्रहरी पुग्न र तथ्यांक संकलन गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलामको इलाम नगरपालिका–६ घोषमा पहिरोले पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा दुई बालबालिकाको मृत्यु भएको हो । घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ । दुई जना घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको स्थानीय युवा रेवज तामाङले जानकारी दिएका छन् ।

यस्तै माईजोगमाई गाउँपालिका–६ मा बर्मालाल सोग्मीको परिवारका पाँच जना पहिरोमा बेपत्ता छन् । त्यस्तै, सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता छन् । माङ्सेबुङमा पनि पहिरोमा ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लामा बाढी पहिरोले क्षति पुर्‍याए पनि संख्या एकिन हुन बाँकी रहेको बताइन् । पानी पर्न रोकिएकाले बिहानैदेखि खोज तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिइन् ।

 

पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी सडक खण्ड भासियो

काठमाडौं । पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी सडकखण्डको डम्पिङ साइड नजिकै सडक भासिएको छ । मर्मत सकिन लागेको सडक भासिएको हो ।

यसअघि पनि यहाँ सडक भासिएको थियो । भासिएको सडक मर्मत गरिनसक्दै लगातारको झरीपछि आज शनिबार फेरि भासिएको छ । पहिरो भासिएसँगै यहाँनिर सवारी एकतर्फी सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।

चितवन भएर जाने राजमार्गमा सवारी चलाउन रोक
चितवन भएर जाने राजमार्गमा सवारी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनमा बसेको सुरक्षा, होटल व्यवसायी संघ (हान) र सरोकारवालाको बीचमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमनमा रोक लगाउने निर्णय भएको हो । बाहिरी जिल्लाबाट चितवन आइपुगेर अलपत्र परेका यात्रुलाई चितवनका होटलमा नियमित शुल्कमा ७५ प्रतिशत छुट दिएर भरतपुर, नारायणगढ र सौराहाका होटलमा बस्ने व्यवस्था मिलाइएको पनि जानकारी गराइएको छ । जसका लागि ९८५५०१४१८० मा सम्पर्क गर्न प्रशासनले भनेको छ ।

प्रधानमन्त्रीको सन्देश : नागरिकको सुरक्षा नै हाम्रो चिन्ता, सहयोग लिन अप्ठेरो नमान्नू

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको बताएकी छिन् । बाढी पहिरो बढ्दै गएपछि देशबासीका नाममा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले आवश्यक सहयोग लिनका लागि अप्ठेरो नमान्न आग्रह गरेकी छिन् ।

‘कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आंकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्नुहोस् । तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो, आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्,’ उनले भनेकी छिन्, ‘हामी तपाईंहरूको चिन्ता र कठिनाईलाई बुझ्छौं । म प्रष्ट पार्न चाहन्छु, तपाईं यसमा एक्लो हुनु हुन्न । राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन् ।’ बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा रहेको बताउँदै उनले यो परिस्थिति अझै बढ्ने क्रममा रहेको जानकारी गराएकी छिन् ।

सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुत उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा रहेको पनि उनले बताएकी छिन् ।

‘हामी बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा छौं । जोखिमको परिस्थिति बढ्ने क्रममा छ । हाल नदीनालाहरूको बहाव उच्च सतर्कताको तहमा छ । निरन्तर वर्षाका कारण खतराको तहमा जानसक्ने सम्भावना अधिक छ । धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘यो चुनौतीपूर्ण समयमा म सबै नागरिकलाई आश्वास्त पार्न चाहन्छु कि सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुत उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा छन् ।’

नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना, स्वास्थ्यकर्मी, प्रशासन र अन्य सेवादायी निकायहरू आपतकालिन सेवा नागरिकलाई यथाशक्य चाँडो सहयोग प्रदान गर्न २४ सै घण्टा तयार अवस्थामा रहेको उनले बताएकी छिन् । महत्वपूर्ण राजमार्ग र अन्य पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेको उनले सन्देशमार्फत जानकारी गराएकी छिन् । ‘तपाईं जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्,’ प्रधानमन्त्रीको आग्रह छ ।

सञ्चार सम्पर्क विच्छेद हुन नदिन मन्त्रालयको अनुरोध

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका कुनै भूभागमा सञ्चार सेवा अवरुद्ध भएमा वा त्यससम्बन्धी कुनै आकस्मिक सूचना प्रवाह गर्न आवश्यक परेमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी देशका अधिकांश भूभागमा अविरल भारी वर्षाका कारण दैनिक जनजीवन प्रभावित भइरहेको जनाउँदै नेपाल विभिन्न सेवा प्रदायक संस्था र मन्त्रालयलाई सम्पर्क गर्न अनुरोध गरेको हो ।

त्यसका लागि दूरसञ्चार कम्पनीको १४९८, एनसेलको ९००५, नेपाल दूरसञ्चार प्राधिकरणको ९८५१०८७४३२ र ९८४१३७६२०३ तथा मन्त्रालयको ९८४९०५३६६३ र ९८४१५२०११५ नम्बरमा सम्र्पक गर्न अनुरोध गरेको हो । सञ्चार मन्त्रालय र आवद्ध निकायका प्रतिनिधिबीच आज भएको छलफलले यस कठिन घडीमा सञ्चारसाधनलाई अवरुद्ध हुन नदिन र नागरिकलाई विपद्को समयमा सही सूचना प्रवाह गर्न थप तदरुकताका साथ कार्य गर्ने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको छ ।

‘जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अझै तीन दिनसम्म भारी वर्षा जारी रहने अवस्था छ । विपद्को यस घडीमा नागरिकको जीवन रक्षा र जनधनको क्षति रोक्न हामी सबै सजग हुन आवश्यक छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा आज सञ्चार मन्त्रालय र आवद्ध निकायका प्रतिनिधिबीच भएको छलफलले थप दारुकताका साथ काम गर्ने निर्णय गरेको छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडकमा साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म सवारी आवागमन रोक लगाउन आग्रह गरेको छ ।

प्राधिकरणले भारीदेखि अतिभारी वर्षाका कारण नदी खोलामा पानीको सतह बढ्ने र सडक डुबानको जोखिम बढ्ने सम्भावना रहेकाले यस्तो आग्रह गरेको हो । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई करिडोर सडकमा आवश्यक अनुसार सवारी आवागमन रोक लगाउन अनुरोध गरिएको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको हो ।

आज राति वर्षाको मात्रा अझै बढ्न गई नदी खोलामा पानीको तह थप बढ्ने एवं नदी खोला किनारका सडक डुबानमा परी जोखिम बढ्ने सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले सतर्क रहन आग्रह गरेको छ ।

‘सम्भावित जोखिम कम गर्न काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (कोरिडर सडक) मा आज साँझ ६ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा आवश्यकतानुसार रोक लगाउनु हुन निर्णयानुसार अनुरोध छ’, प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।

बाटोमा अलपत्र यात्रुलाई खाना र आवास व्यवस्था मिलाउन आग्रह

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाटोमा अलपत्र यात्रुलाई खाना र आवासको व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई आग्रह गरेको छ ।

देशभरको अविरल भारी बर्षाका कारण लामो दूरीका सवारी साधन आवागमन रोकिएको अवस्थामा बाटोमै रोकिएका यात्रुको व्यवस्थापन र भोजनको व्यवस्था मिलाउन आग्रह गरिएको हो ।

अत्यधिक वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, पहिरो र डुबानजन्य जोखिमलाई मध्यनजर गर्दै असोज २० गते सोमबारसम्म सवारी सञ्चालनमा रोक लगाइएपछि गन्तव्यतर्फ प्रस्थान गरिसकेका केही सवारी साधन बाटोमै रोकिएका छन् । त्यसै सम्बन्धमा यात्रुको सुरक्षित व्यवस्थापन गर्न प्राधिकरणले आदेश जारी गरेको हो । प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (कोरिडर सडक) मा साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीका रोकिएका यात्रुलाई सुरक्षित स्थानमा राख्दै खानपान, स्वास्थ्योपचार लगायतका आवश्यक बन्दोबस्त गर्न सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी, सरकारी तथा गैरसरकारी संस्था, निजी क्षेत्रसँग समन्वय गरेर तत्काल प्रबन्ध मिलाउन भनिएको छ ।

यसअघि नै प्राधिकरणले असोज १८ देखि २० गतेसम्म उपत्यका भित्रिने सबै लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । तर सूचना जारी हुनुअघि नै प्रस्थान गरेका सवारी रोकिएको उजुरी आएपछि आपत्कालीन व्यवस्थापनका लागि स्थानीय प्रशासनलाई सक्रिय हुन भनिएको हो ।

प्राधिकरणले यस कार्यमा गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई पनि आवश्यक समन्वय र सहजीकरणका लागि जानकारी गराएको छ ।

हेर्नुस् सूचना

वायुसेवा सञ्चालकहरूलाई गृहको पत्र : हेलिकप्टरहरु तयारी अवस्थामा राख्नू

काठमाडौं । गृह मन्त्रालयले विपद व्यवस्थापनको निम्ति हेलिकप्टर तयारी अवस्थामा राख्न वायुसेवा सञ्चालक संघलाई अनुरोध गरेको छ ।कोशीदेखि लुम्बिनी प्रदेशसम्म भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको खोज तथा उद्दार, राहत, स्थानान्तरण र पुनर्स्थापनाका लागि मन्त्रालयले हेलिकप्टर तयारी अवस्थामा राख्न भनेको हो ।

‘मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकप्टरलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राखिदिनुहुन अनुरोध छ,’ गृहका उपसचिव निशानराज गौतमले लेखेको चिठीमा उल्लेख छ । यसका लागि समन्वय र सहजीकरण गरिदिन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आग्रह पनि गरिएको छ ।

हेर्नुस् पत्र

बाढी–पहिरोले समस्यामा परे यी नम्बरमा गर्नुस् सम्पर्क (सूचीसहित)

काठमाडौं । विपदमा तत्काल उद्धारको आवश्यकता परे ७७ वटै जिल्लामा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ । सरकारले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ७७ वटै जिल्लाको सम्पर्क नम्बर उपलब्ध गराएको हो ।

शुक्रबारदेखिको अविरल वर्षापछि बाढी र पहिरो व्यापक भएको छ । ठाउँ ठाउँमा सडक अवरुद्ध छन् । यसैलाई मध्यनजर गरी गृह मन्त्रालयले नम्बरहरुको सूची दिएको छ । गृह मन्त्रालयमा समेत ९८५१२७७०११ मा सम्पर्क गर्न सकिनेछ ।
हेर्नुस् सहयोग चाहिएमा फोन गर्न सकिने नम्बरहरु

तुइनखोलामा पहिरो, सडक दुईतर्फी बन्द

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकअन्तर्गत तुइनखोलामा दुईतर्फी सडक आवागमन बन्द भएको छ । पहिरो खसेपछि अपराह्न ४ बजेदेखि बाटो बन्द भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार ढुंगा झरिरहेको छ । अहिले पहिरो पन्छाउने काम पनि भइरहेको छ । कार्यालयले अत्यावश्यक बाहेक सडक यात्रा नगर्न सुझाएको छ । डोजरले एकतर्फी सडक सञ्चालनको लागि पहिरो हटाइरहेको छ ।

अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न राजमार्गहरू अवरुद्ध बनेका छन् । सरकारले भोलि र पर्सी सार्वजनिक बिदा समेत दिइसकेको छ । मनसुन अझै दुई दिन सक्रिय हुने बताइएको छ ।

धनगढी बस दुर्घटना : एकको मृत्यु, १२ जना घाइते

सुदूरपश्चिम । धनगढीबाट पोखराका लागि छुटेको बा २ ख १९०७ नम्बरको बस आज दिउँसो धनगढीको बोराडाँडी सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार धनगढी उपमहानगरपालिका–४ का ६२ वर्षीय गणेशबहादुर शाहीको मृत्यु भएको हो । बसमा सवार सबै १२ जना घाइते भएका छन् । उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार जारी छ ।

पृथ्वी राजमार्ग खुल्यो

चितवन । पहिरोेले अवरुद्ध भएको पृथ्वी राजमार्ग आज अपराह्नदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो ।

चितवनको इच्छाकामना–३ फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडक सञ्चालन भएसँगै बाटोमा रोकिएका सवारीसाधन प्रस्थान गरेका छन् ।

बागमती र मनोहरामा बढ्दै बाढी, किनारका बस्ती डुबानको जोखिममा {तस्वीरहरु}

काठमाडौं । बागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर बढ्दै गएसँगै बाढीको जोखिम बढेको छ । ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३.५ मिटर रहेकोमा जलस्तर ३.५८ मिटर पुगेको छ ।

त्यस्तै, मनोहरा खोलाको बालकुमारी केन्द्रमा सतर्कता तह ४.४ मिटर रहेकोमा सो तह पार भएको छ । नख्खु खोलामा पनि जलस्तर बढिरहेको छ । आगामी २४ घण्टासम्म वर्षा निरन्तर हुने सम्भावना छ, जसले गत वर्षको जस्तै बाढीको जोखिम निम्त्याउन सक्ने मौसमविदहरूले बताएका छन्।

हनुमन्ते खोला, विष्णुमति खोला, नख्खु खोलाको मेडिसिटी आसपास र तलका बस्तीहरू, कालिमाटी तरकारी बजार, बल्खु तरकारी बजार र आसपासका क्षेत्रमा डुबानको उच्च जोखिम रहेको छ । स्थानीय बासिन्दालाई सतर्क रहन र सम्भावित बाढीबाट सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।
तीन दिनसम्म लामो दूरीको यात्रा नगर्न सरकारले आम नागरिकहरुलाई आग्रह गरेको छ । बारा, पर्सा, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा अत्याधिक वर्षा भइरहेको छ । वर्षा अब पूर्वी क्षेत्रमा सर्ने भएकाले पूर्वतिर शतर्कता अपनाउन आग्रह गरिएको छ ।

हेर्नुस् तस्वीरहरु

छाता ओढेर चोभार–गल्छी क्षेत्र निरीक्षणमा निस्किए मन्त्री घिसिङ {तस्वीरहरु}

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ तथा सहरी विकास सचिव गोपाल सिग्देलले चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन् । उक्त गल्छीबाट काठमाडौं उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएकाले सो क्षेत्रको निरीक्षण गरिएको हो ।

मन्त्री घिसिङले धोवीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर, बागमती नदी कोरिडोर लगायतका क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरूको अवस्थाबारे जानकारी लिए । सो क्रममा उनले नदी किनारका बस्तीका बासिन्दाहरूलाई उच्च सतर्कताकासाथ सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।

हेर्नुस् तस्वीरहरु

बुद्ध एयरका सबै उडान रद्द

काठमाडौं । मौसमी प्रतिकूलताका कारण बुद्ध एयरले आज (शनिबार) का सबै उडान रद्द गरेको छ । बुद्ध एयरले एक सूचना जारी गर्दै आजका सबै उडान बन्द गरेको जानकारी गराएको हो ।

उडान रिसेड्युल तथा रिफण्डका लागि आ–आफ्ना ट्राभल एजेन्सी, पोर्टल वा हाम्रो कल सेण्टरमा सम्पर्क गर्न पनि बुद्ध एयरले अनुरोध गरेको छ । अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न राजमार्गहरू अवरुद्ध छन् ।

मदनभण्डारी राजमार्गमा चार पक्की पुल निर्माण

गुल्मी ।  गुल्मीमा मदन भण्डारी राजमार्ग योजना कार्यालयअन्तर्गत पश्चिमी क्षेत्रमा चार पक्की पुल निर्माणसँगै त्यस क्षेत्रका नागरिकलाई यतिबेला ठूलो खुसी मिलेको छ । यस पटकदेखि चाडबाडको समयमा खोला तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता लामो समयको प्रतीक्षापछि सधैँका लागि टरेको छ ।
जिल्लाको इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिका क्षेत्रभित्र रहेका खोलामा चारवटा पक्की पुल निर्माण भएसँगै त्यस क्षेत्रमा नागरिक निकै खुसी बनेका छन् । दसैँ, तिहार जस्ता चाडबाडको समयमा घरमा आउँदा सधैँ खोला तर्नुुपर्ने चिन्ताले पिरोलिरहने त्यस क्षेत्रका नागरिकले पुल बनेपछि सहज तरिकाबाट यात्रा गर्न पाएका छन् ।
उक्त क्षेत्रमा लामो समयको प्रयासपछि आर्थिक वर्ष २०८१/८२ मा एकै पटक चार पक्की पुल निर्माणसम्पन्न भएर सञ्चालनमा आएका हुन् । सञ्चालनमा आएका पक्की पुलमा फूलबारी खोला, घमिर खोला, हुलाके खोला र धनार्जी खोला गरी चारवटा रहेका छन । निर्माणसम्पन्न गरिएका पुलमा फूलबारी खोलाको पुल रु तीन करोड ३२ लाख ६८ हजार र घमिर खोला पुल रु तीन करोड १३ लाख ८४ हजारमा निर्माण सम्पन्न गरिएको हो । उक्त पुल निर्माणको काम पन्थ निर्माण सेवाद्वारा गरिएको थियो ।
त्यसैगरी सुनिल समिर निर्माण सेवाद्वारा हुलाके खोला पुल रु पाँच करोड ७९ लाख ५३ हजार र धनार्जी खोला पुल रु सात करोड ४८ हजार लागतमा निर्माणसम्पन्न भएकोे मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिए ।
मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडक खण्डमा खोलामा पक्की पुल नहुँदा वर्षातको समयमा त्यस क्षेत्रका नागरिकले ठूलो समस्या भोग्दै आउनुपरेको स्थानीय कृष्णप्रसाद अर्यालले बताए ।
पुल नहुँदा वर्षौंदेखि खोलाको बीचबाट सवारीसाधन सञ्चालन गर्नुपर्ने बाध्यता थियो । वर्षातको समयमा बाढी आउँदा कतिपय सवारीसाधन खोला तर्ने क्रममा बीचैमा अड्किने र कतिपय समयमा बाढीले बगाउने जस्ता समस्या झेल्नुपर्ने अवस्था थियो । त्यसकारण यात्रुलाई वर्षौंदेखि आवत–जावत गर्न सास्ती व्यहोर्दैै आउनु परेको थियो ।
पुल निर्माण नहुँदा उक्त क्षेत्रका राजनीतिक दल र नेतृत्वले समेत नागरिकबाट पटक पटक ठूलै आलोचना खेप्नुपरेको थियो । अहिले चारवटा पक्की पुल एकैचोटि निर्माणसम्पन्न भएर सहज रुपमा सवारीसाधन सञ्चालन भएपछि त्यस क्षेत्रका नागरिक निकै खुसी बनेको इस्मा–१ गुरुवाका स्थानीय दधिराम पन्थीले बताए ।
उक्त पक्की पुल निर्माण भएपछि जिल्लाको पश्चिमी क्षेत्रका चार स्थानीय तहसँगै बागलुङ र प्यूठानसम्मका नागरिकलाई समेत सहज बनेको मालिका–६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले बताए । ‘पुल नहुँदा नागरिकले लामो समयदेखि पटकपटक समस्या र दुर्घटनाको जोखिम व्यहोर्दै आउनुपर्ने बाध्यता जस्तै बनेको थियो, अब खोलामा पक्की पुल बनेपछि विगतका समस्या समाधान गरिदियो, कालोपत्र सडकसँगै पुल निर्माण भएपछि यस क्षेत्रमा विकासले पनि नयाँ आयाम थप्ने भएको छ’, गिरीले भने ।
तम्घास–सिमलटारी खण्डमा सडक र पुल निर्माण भएपछि छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्दल, फुलबारी, सिमलटारीलगायतका स्थानमा व्यापारिक चहलपहल बढ्न थालेको इस्मा–६ का अगुवा कृषक कृष्णप्रसाद घिमिरेले बताए । जिल्लाको आधाजसो जनसंख्या ओगटेको पश्चिमी क्षेत्रमा पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकमा सहज यात्रासँगै थप खुसी पनि थपिएकोे छ ।

पाँचथर दुर्घटना : ६ को मृत्यु, ६ जनाको उद्धार (अपडेट)

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिके डाँडामा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइतेलाई उद्धार गरी धरान पठाइएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ ।

ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी दिउँसो दुर्घटना भएको थियो । दुर्घटनापछि स्थानीय र प्रहरीको सहयोगमा ६ जनालाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णले जानकारी दिएका छन् ।

दुर्घटनामा ६ जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट शव निकाल्ने काम भइरहेको कर्णले बताएका छन् । उनका अनुसार, अहिले शव बोक्ने काम भइरहेको छ, मृतकको पहिचान खुलेको छैन । बोलेरो सडकबाट ५ सय मिटर तल खसेको थियो ।

फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग ठप्प

चितवन । इच्छाकामना गाउँपालिका–३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण १ः४५ बजे मुग्लिङ–नागढुङ्गा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा तीन घण्टा लाग्ने छ ।

पहिरो पन्छाउने काम सुरु गरिएको उनले बताए । नारायणगढ–मुग्लिन सडक खण्डमा भने अहिलसम्म अवरोध नभएको उनले जानकारी दिए। निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सरकारले दियो दुई दिन सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौं । लगातार वर्षाका कारण उत्पन्न आपतकालीन अवस्थाको मूल्यांकन गर्दै सरकारले आइतबार र सोमबार दुई दिन बिदा घोषणा गरेको छ । देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो । तर, राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको हो । त्यस्तै, गृह मन्त्रालयमा देशभरका सीडीओहरूसँग सुरक्षाबारे छलफल भएको छ ।

त्यस्तै, उच्च जोखिमयुक्त बस्तीमा सुरक्षा संयन्त्रहरू परिचालन गर्ने निर्णय पनि भएको छ । नेपाली सेनाको हेलिकप्टर पनि आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राख्ने निर्णय भइरहेको पनि गृहले जनाएको छ ।

हेर्नुस् सूचना 

डाँडाबाट बोलेरो खस्दा पाँचथरमा चारको मृत्यु, ६ जना घाइते (अपडेट)

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिके डाँडामा आज (शनिबार) दिउँसो बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ६ जना घाइतेलाई उद्धार गरी धरान पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी दिउँसो पाँचथरमा दुर्घटनामा परेको हो । दुर्घटनापछि स्थानीय र प्रहरीको सहयोगमा ६ जनालाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णले जानकारी दिए ।

मृत्यु भएका चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ । तर मृतकको पहिचान खुलिसकेको छैन । बोलेको तमोर करिडोरको कात्तिके डाँडाबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य व्यक्ति समेत हराइरहेको हुनसक्ने आशंकामा खोजी जारी राखिएको जनाइएको छ ।

विपद उद्धारका लागि तयारी अवस्थामा रहन मन्त्री घिसिङको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री कुलमान घिसिङले सडक, सिँचाइ तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित सबै निकायका कर्मचारीलाई विपद् व्यवस्थापनका निम्ति तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

आफूले नेतृत्व गरेका मन्त्रालय तथा मातहतका निकायका प्रमुखहरूसँग आज भएको छलफलमा उनले सडक, सिँचाइ सञ्जाल र ‘हाइड्रोपावर’ का संरचनालाई बाढी पहिरोबाट जोगाउन तत्काल पहल गर्नुपर्नेमा जोड दिएको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ ।

आज साँझदेखि आइतबार बिहानसम्म देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले मन्त्री घिसिङले भौतिक पूर्वाधार संरक्षणका निम्ति बजेट अभाव देखाएर पन्छिन नहुने बताए ।

विपद् व्यवस्थापनमा खटिए महानगर प्रहरी
गए रातिदेखि निरन्तर वर्षा भएपछि काठमाडौँ महानगरप्रहरीले विपद् व्यवस्थापन कार्यमा १०० जना महानगर प्रहरी खटाएको छ । कुनै बस्तीमा डुबानका कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी समेत महानगरले गरेको जनाइएको छ । कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न पनि महानगरले आग्रह गरेको छ । विपद् व्यवस्थापन विभागका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार गए रातिदेखिको निरन्तर वर्षाका कारण काठमाडौँलगायत देशका अधिकांश स्थानको अवस्था संवेदनशील रहेको छ ।

काठमाडौँको हकमा भने नगर प्रहरी परिचालन गरी सकिएको छ भने आवश्यकताअनुसार अन्य तयारी अवस्थामा रहेको प्रमुख जोशीले जानकारी दिए । महानगरले जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन र अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घरबाहिर नजान आग्रह गरेको छ ।

महानगरका जनप्रतिनिधि सम्भावित जोखिमयुक्त स्थानको अवलोकनमा खटिएको पनि जनाइएको छ । विशेषगरी सोल्टी मोडको पश्चिमतर्फ हनुमन्ते खोलाले बाटो भासिएको छ र खोलाले घर नजिक करिब पाँच फिट मात्र दूरी छाडेको छ । अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान रोक्न बोरामा ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको जोशीले बताए ।

अविरल वर्षाले विभिन्न राजमार्गमा सवारीसाधन अलपत्र

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौँ उपत्यका भित्रने र बाहिरिने विभिन्न राजमार्गमा सवारीसाधन रोकिएका छन् । चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाडौँबाट धादिङ र मकवानपुर भएर बाहिरिने सडक खण्डमा अर्को आदेश नभएसम्मका लागि दुवैतर्फका सवारीसाधन होल्ड गरिएको नेपाल प्रहरीले जनाएको छ।

पहिरोले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोला, बालुवाखानी र तातोपानीस्थित पासाङल्हामु सडकखण्ड पनि अवरुद्ध भएको छ । संखुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वरुणखोलाको बाढीले ह्युमपाइप बगाउँदा सदरमुकाम खाँदबारीबाट थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

पहिरोको जोखिम बढेपछि बिपी राजमार्गमा यही असोज २१ गतेसम्म साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम सवारी सञ्चालनमा रोक लगाइएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ चारकिलोस्थित अरनिको राजमार्गको केही भाग भासिएकाले भाअिन्दाजी सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । ओलखढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सीमास्थित भँडारे खोलाको बाढीले सदरमुकाम जोड्ने सडकमा क्षति भएको छ ।

हेटौँडा–काठमाडौं जोड्ने पाँच वटै सडकमा गाडी चलाउन रोक
बाढी–पहिरोको जोखिम बढेकाले हेटौँडा–काठमाडौँ जोड्ने सडकमा सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार हेटौँडा–काठमाडौँ जोड्ने मुख्य सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए ।

उनका अनुसार हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ, हेटौँडा–भैँसे–फाखेल सडक र हेटौँडा–चित्लाङ–काठमाडौँ सडकमा सवारीसाधनलाई आज बिहानैदेखि सञ्चालन गर्न दिएको छैन । हेटौँडा हुँदै काठमाडौँका निम्ति छुटेका सबै सवारीसाधनलाई प्रहरीले हेटौँडाको चौकीटोल, भैँसे, पिप्लेमा रोकेको छ । सवारीसाधन सञ्चालन नहुँदा यात्रीहरू अलपत्र परेका छन् ।

हेटौँडा–काठमाडौँ जोड्ने कुनै पनि सडक हालसम्म बाढी वा पहिरोका कारण अवरुद्ध नभए पनि वर्षा निरन्तर भइरहेकाले जोखिमबाट जोगिन ती सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रवाक्ता बोगटीले बताए । यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आजदेखि असोज २० गतेसम्म अत्यन्त टाढा र राति यात्रा नगर्न आग्रह गरेका छन्। उनले सबै जिल्लाबासीलाई सचेत रहन आग्रह गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, यात्रु अलपत्र

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द गरिएको छ । उडान प्रतिकूल मौसमका कारण दिउँसो ३ बजेसम्म विमानस्थल बन्द गराइएको हो ।

देशभर परिरहेको अविरल वर्षाका कारण राजमार्ग समेत अवरुद्ध भएका छन् । काठमाडौं उपत्यका प्रवेश गर्ने राजमार्गहरू प्रभावित हुँदा यात्रुहरू समस्यामा परेका छन् । बिहानैदेखि देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र खराब भिजिबिलिटीका कारण उडान सञ्चालनमा समस्या आएपछि विमानस्थलले आन्तरिक टर्मिनलमा यात्रुको बाक्लो भिड लागेको छ ।

उडान ठप्प भएपछि हजारौं यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् । लामो समयदेखि पर्खाइमा रहेका यात्रुहरूको लागि विभिन्न वायुसेवा कम्पनीहरूले टिकट रद्द गर्न थालेका छन् । अचानक उडान बन्द हुँदा यात्रुहरूले सास्ती भोगिरहेका छन् भने कतिपयको यात्रा योजना नै प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म अहिले पानी परिरहेको छ । आगामी केही घण्टाभित्र वर्षाको मात्रा र क्षेत्र अझै बढ्ने सम्भावना रहेकाले उडान सञ्चालनमा सुधार आउन समय लाग्ने देखिएको छ ।

महाशाखाले केही प्रदेशहरूमा भारी तथा अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । यात्रुहरूलाई वैकल्पिक व्यवस्था वा उडानको जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीहरूसँग सम्पर्कमा रहन सुझाव दिइएको छ ।

पाँचथरमा बोलेरो दुर्घटना : चार जनाको उद्धार

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–२ र ३ को सीमानास्थित कात्तिके डाँडामा भएको बोलेरो जीप दुर्घटनास्थलबाट चार जनालाई उद्धार गरिएको छ । स्थानीयले घाइतेहरुलाई उद्धार गरी धरानतर्फ पठाएका छन् ।

अहिलेसम्म मानवीय क्षतिको जानकारी नआएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जनाएका छन् । ‘अहिलेसम्म चार जना घाइतेलाई उपचारका लागि धरानतर्फ पठाइएको छ,’ प्रजिअ पोखरेलले भने, ‘दुर्घटनास्थलबाट धरान नै नजिक पर्छ ।’

उनका अनुसार सदरमुकाम फिदिमबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई पनि घटनास्थल पठाइएको छ । आफू पनि त्यतै जान लागेको उनले बताए । धरान जाँदै गर्दा बोलेरो जीप दुर्घटनामा परेको जानकारी आएको र प्रहरी पुगेपछि विस्तृत विवरण थाहा हुने उनले बताए । घटनास्थलमा पानी परिरहेको स्थानीय पत्रकार रमेश थापाले बताएका छन् ।

यसअघि दुर्घटना स्थलनजिकै रहेको भन्दै सागर ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इमर्जेन्सी परेको छ, मभन्दा अगाडिको गाडी खसेर धेरैको ज्यान गएको छ । सबैले सकेको छिटो हेलिकोप्टर एम्बुलेन्स वा गाडीहरू छिटोभन्दा छिटो पठाइदिनुस् न है ।’

करोडौंका उपकरण अलपत्र

पर्वत । पर्वतका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्‍याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना लामो समयदेखि प्रयोगविहीन बनेका छन् ।

विगत साढे दुई दशकभन्दा अघि युएनडिपी, विश्व बैङ्क र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्ण रुपमा बन्द भएका हुन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा करोडौँ मूल्यका उपकरण अलपत्र बनेका छन् ।

सात वर्षअघिसम्म तीनवटा मात्र आयोजना सञ्चालनमा रहेको भए पनि केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएसँगै ती पनि बन्द भएका हुन्। पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका सबै वडामा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएको हो ।

दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–६ स्थित सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, वडा नं ४ हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, वडा नंं ७ भोर्लेमा रहेको १६ किलोवाट क्षमताको धुँवाकोट, फलेवास नगरपालिका–११ पाङराङको साढे सात किलोवाट क्षमताको गढिसिद्ध र ११ किलोवाटको बाच्छाखोला, मोदी गाउँपलिका–४ क्याङमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघु जलविद्युत् आयोजना पूर्ण रुपमा बन्द रहेका छन् ।

त्यस्तै विहादी गाउँपालिका–१ बाच्छा बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघुजलविद्युत् आयोजनामा पनि उत्पादन गर्न छाडेका छन् । मोदी गाउँपालिका–१ भुकताङ्गले मा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघु जलविद्युत् आयोजना पनि सात वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र बनेको छ ।

यस्तै महाशिला गाउँपालिका–२ भोक्सिङको छ किलोवाट क्षमताको छहरेखोला र नौ किलोवाट क्षमताको छर्छरेखोला लघुजलविद्युत् आयोजना पनि पाँच वर्षअघि गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि त्यत्तिकै थन्किएका छन् । मर्मतको अभाव र थोरै क्षमता हुने भएपछि स्थानीयले मर्मतमा पनि बेवास्ता गरेका हुन् ।

तत्कालीन जिल्ला विकास समिति ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार मर्मतका लागि बजेटसमेत अभाव भएको र मर्मत गरेपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयले मर्मतमा बेवास्ता गरेका हुन् । शिलाकारले गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीय लाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको बताए ।

पछिल्लो समय स्थानीय तहहरूले पनि उक्त लघुविद्युत् मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् । स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हुँदै गएको बाच्छाका भीमबहादुर खड्काले बताए । जिल्लाका ११ लघुजलविद्युत् आयोजनाबाट १५६ दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भएको थियो । त्यसबाट एक हजार ४०३ घरधुरीका नौ हजार बासिन्दा लाभान्वित भएका थिए ।

‘२५ वाट क्षमताको बल्ब महिनाभर चलाएको रु २५ तिरे पुग्थ्यो’, तत्कालीन ऊर्जा अधिकृत शिलाकारले भने, ‘केन्द्रीय लाइनभन्दा लघु जलविद्युत्बाट उत्पादित बिजुली सस्तो भए पनि ग्रामीण बासिन्दाले यसलाई बेवास्ता गर्न थालेका छन् ।’

युएनडिपी, विश्व बैङ्क र नेपाल सरकारको लगानीमा २०५५ सालदेखि सञ्चालनमा रहेका यी आयोजना अहिले भग्नावशेष बनेका छन् । सबै आयोजनाका लागि रु दुई करोड २५ लाख खर्चिए पनि केन्द्रीय प्रसारण लाइनको विस्तार, स्थानीय तह र उपभोक्ताको बेवास्ता तथा मर्मत अभावले अलपत्र अवस्थामा पुगेका हुन् । रासस

 

सचेत रहन आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले वर्षाबाट हुनसक्ने बाढी–पहिरोबाट सचेत रहन सबैलाई आग्रह गरेको छ ।

आयोगले आज विज्ञप्ति जारी गरी प्राकृतिक विपद्पूर्वका कार्यहरुमा उचित ध्यान दिनु, विपद्को अवस्थाका बारेमा सर्वसाधारणलाई सूसूचित गर्नु र जोखिममा रहेकाहरुलाई उद्धार गर्नु राज्यको जिम्मेवारी भएको जनाउँदै विपद्पूर्वको तयारी र विपद्प्रतिकार्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।

साथै आयोगले विपद्पूर्वको तयारी तथा उद्धारमा सघाउन राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम, युवापुस्ता, विभिन्न सङ्घ संस्था र नागरिक समाजलाई आग्रह गरेको छ ।

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

सप्तरी । सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी आज तीन जनाको ज्यान गएको छ । हुलाकी सडक खण्डअन्तर्गत जिल्लाको खड्क नगरपालिका–११ बनौलीमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको ज्यान गएको छ ।

बोदेबर्साइनबाट राजविराजतर्फ आउँदै गरेको मधेस प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मधेस प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार दुर्घटनामा मधेस प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकलका चालक खड्क नगरपालिका–१० बेल्हाका २८ वर्षीय चिन्तामणि चौधरी र मधेस प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकलका चालक सुरुङगा नगरपालिका–७ बस्ने २७ वर्षीय सोविन चौधरीको मृत्यु भएको छ ।

यस्तै जिल्लाको तिरहुत गाउँपालिका–१ धनपुरीमा हायसको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बा प्र०३–००१ ख २५८२ नं हायसले बाटो काटिरहेका पैदल यात्री स्थानीय देवन पञ्जियारका ७० वर्षीया श्रीमती जगियादेवी पञ्जियारलाई ठक्कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनापछि हायस तथा चालक धादिङको बेनिरोराङ गाउँपालिका–४ बस्ने ४० वर्षीय मदन श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए

काठमाडौं । खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमाडौंतर्फ नै फर्काएको छ ।

धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौँ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

आज बिहानदेखि नै नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको उनले बताए ।

आइतबार बिहानसम्म अति भारी वर्षाको सम्भावना, ४० जिल्लामा बाढीको जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँग गरेको छलफलमा विभागका महानिर्देशक कमलराम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने बताएका हुन् ।

जोशीले विशेष गरी यस अवधिमा बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाले विशेष सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।

‘यी प्रदेशहरूमा आज राति १० देखि आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटर भन्दा बढी पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जरुरी छ’, उनले भने ।

यो समयमा अनावश्यक रूपमा यात्रा नगर्न जोशीले आग्रह गरे । विभागका अनुसार देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा प्रभाव छ । बंगालको खाडीमा विकसित प्रणालीको असरले नेपालमा पनि परिरहेको छ । कुनै कुनै ठाउँमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकाले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षाका कारण ४० जिल्लामा बाढीको उच्च जोखिम छ । उच्च जोखिममा काठमाडौं उपत्यका समेत परेको छ । अहिले वर्षाको दर विस्तारै बढ्दै गएको छ र यो क्रम राति अझै बढ्न सक्ने सम्भावना छ । त्यसैले काठमाडौंका नदीहरुको बहाव बढ्दै गएर सतर्कताको तह नजिक पुगेको छ ।

बाढीको सतह अझै बढ्ने सम्भावना भएकाले आज बेलुका र भोलिसम्मका लागि विशेष सतर्कता जरुरी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ‘काठमाडौंको हकमा विष्णुमती, बागमती, मनोहरा, नख्खु सबै नदीहरुमा बाढी सतर्कताको तह नजिक पुगेको छ, त्यस हिसाबले यी क्षेत्रमा सतर्कता अपनाउनु पर्नेछ,’ जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले भने, ‘आज बेलुका र भोलि विशेष सतर्कता जरुरी छ ।’ डुबान भइरहने र बाढी आउने क्षेत्रमा विशेष गरी नदी किनारमा यात्रा नगर्न मौसमविदले सुझाव दिएका छन् ।

यी जिल्लामा छ बाढीको उच्च जोखिम

विभागका अनुसार अहिले बागमती प्रदेशका चितवन, मकवानपुर, सिन्धुली लगायतका जिल्लामा वर्षा मध्यमबाट भारीतर्फ उन्मुख छ । यसैगरी मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीमा पनि वर्षा भारीतर्फ उन्मुख छ ।

‘अहिलेसम्म वर्षाले खतराको तह पार गरिसकेको त छैन तर त्यसको नजिक छ,’ पराजुलीले भने । विभागका अनुसार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा बाढीको अति उच्च जोखिम छ ।

यसैगरी, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुलाई पनि अति उच्च जोसिखमको सूचीमा राखिएको छ। साथै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ पनि बाढीको उच्च जोखिममा छन् ।

यस्तै गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरु उच्च जोखिममा छन् । कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दियामा मध्यम जोखिमको सूचीमा राखिएको छ ।

काठमाडौँ जाने सवारीसाधनलाई चितवन र आँबुखैरेनीमा रोकियो

काठमाडौं । नारायणगढ हुँदै काठामाडौँ जाने सवारीसाधनलाई चितवनमा रोकिएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण लोथरदेखि फिस्लिङ बजारसम्म ‘स्टपिङ प्लान’ अनुसार सवारीसाधन रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार धादिङको जवाङ खोलामा पहिरोका कारण सडक अवरुद्ध भएकाले काठमाडौँ जाने सवारीसाधनलाई स्थानीय प्रशासनले तोकेको स्थानमा रोकिएको हो । उनले भने, ‘भरतपुर–मुग्लिन–पोखरा सडक सञ्चालनमा रहेको छ ।’ नारायणगढ मुग्लिन सडक खण्डमा अहिले सञ्चालनमा रहेको छ । केही स्थानमा ढुङ्गा खसे पनि तत्काल पन्छाउने गरिएको उनले जानकारी दिए।

उनका अनुसार काठमााडौँ जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपत्कालीन अवस्थामा सवारीसाधन रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिन्टार र मुग्लिनमा, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस टर्मिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारी साधन रोकिएको छ ।

सवारीसाधन एकै ठाउँमा रोक्दा मानवीय आवश्यकतासम्बन्धी समस्या हुने भएकाले विभिन्न स्थानमा ‘स्टपिङ प्लान’ बनाएर सवारी साधन रोकिएको हो । उनले भने, ‘धेरै स्थानमा सवारीसाधन रोक्दा मानवीय आवश्यकतासम्बन्धी समस्या नआउने हुन्छ ।’ बाटो पूर्ण रुपमा सञ्चालन नभएसम्म सवारीसाधनलाई रोकिएको स्थानमा नै रहन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।

पृथ्वी राजमार्गको आँबुखैरेनीमा सवारीसाधन रोकिए
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सवारीसाधन रोकिएका छन् । आज बिहानदेखि निरन्तर वर्षा भइरहेकाले प्रहरीले आँबुखैरेनीमा सवारीसाधन रोकेको हो ।

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला र मुग्लिन–काठमाडौँको जवाङ खोलामा पहिरोको जोखिम रहेकाले सवारीसाधन सुरक्षित ठाउँमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीमा करिब दुई-तीन सय सवारीसाधन रोकिएका छन् । वर्षा भइरहेकाले अनावश्यक यात्रा नगर्न उनले आग्रह गरे । वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा भने अहिलेसम्म अवरोध नरहेको कार्कीले उल्लेख गरे ।

एउटा छोरो पनि शहीद भयो, अब न्यायका लागि गोली खान तयार छु : गणेश चौलागाईं

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेशप्रसाद चौलागाईंले शहीद परिवारलाई संगठित हुन आह्वान गरेका छन् । उनले शहीद परिवारका सबै सदस्यहरूलाई एकजुट भई साझा आवाज उठाउन आग्रह गरेका हुन् ।

‘अब हामी शहीद परिवारका सबै सदस्यहरू एक ठाउँमा जम्मा हुनुपर्छ,’ चौलागाईंले भने, ‘हामीले सबैको पीडा सुनौं, छलफल गरौं र एउटा समिति गठन गरौं । कोही सक्षम व्यक्ति छन् भने नेतृत्व गरौं, तर न त जेनजीको पछि लागौं, न सरकारको ।’

उनका अनुसार अबको आन्दोलन वा मागहरूको नेतृत्व शहीद परिवार आफैले सम्हाल्नु पर्छ । ‘हामी आफैंले तय गरौं कि हाम्रो माग के हो, त्यसपछि सिंहदरबार जाऔं, मन्त्रीहरूलाई भेटौं, अनि हाम्रो आवाज राखौं । सरकारले नसुने सिंहदरबार अगाडि धर्ना बस्न तयार हौं,’ उनले भने ।

चौलागाईंले अहिलेको सरकारलाई अघिल्ला सरकारहरूसँग तुलना गर्दै भने, ‘सरकारले शहीदको आवाज सुन्दैन, अन्तरिम सरकार पनि पहिलेको जस्तै हो ।’ उनले जेनजी आन्दोलनको नेतृत्व सम्बन्धी अन्योल हटाउन पनि आग्रह गरे । ‘पहिलो नम्बरमा स्पष्ट हुनुपर्छ, जेनजीको आधिकारिक नेतृत्व को हो ? त्यो जेनजीले नै स्पष्ट पार्नुपर्छ,’ चौलागाईंले भने ।

उनले थपे, ‘अब देश बनाउने काम सबै मिलेर गरौं । युवाहरूले रोजगार पाउनुपर्छ । तर सरकारको पहिलो प्राथमिकता शहीद परिवार हुनुपर्छ। जसको रगत बग्यो, पहिला उनीहरूलाई खुसी बनाउनु सरकारको कर्तव्य हो ।’

चौलागाईंले असोज १८ गते शनिबार बिहान १० बजे शहीद परिवारका तर्फबाट सिंहदरबार जाने कार्यक्रम रहेको जानकारी पनि दिए । सबै शहीद परिवारका प्रतिनिधिहरूलाई पनि सिंहदरबार अगाडि भेला हुन उनले आग्रह गरेका छन् ।

गणेशले अब शहीद परिवारहरूका तर्फबाट सरकारलाई दबाब सिर्जना गर्न संघर्षका कार्यक्रमहरू आयोजना गर्ने बताए । उनले भने, ‘शहीदहरूको सपना पूरा गराउन कसैले साथ नदिए एक्लै भए पनि लड्ने छु । एउटा भएको सन्तान पनि गुमेपछि मेरो के नै रह्यो र ? छातीमा गोली थापेर भए पनि लड्छु ।’

आफ्नो छोरा शहीद भएपछि बाथरुममा पसेर घण्टौंसम्म रोएको बताएका उनले श्रीयम वानेश्वरको सिभिल अस्पताल अगाडिको सडकमा बसेर शान्तिपूर्ण आन्दोलन गर्दैगर्दा प्रहरीले गोली बर्साएको सुनाए । ‘मेरो छोरा सरहका युवाहरूलाई गोली हान्न लगाउने त्यसबेलाका सरकारका प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई पहिले पक्राउ गरेर जेलमा हालेर मात्र छानबिन आयोग बनाउनु पर्छ । ती सबै पशु हुन् । यिनीहरूले देशको माया गर्दैनन्, भाषणमा मात्र माया गर्छन् ।’

इटहरीमा जन्मिएका श्रीयम परिवारसहित काठमाडौंको पेप्सीकोला बस्दै आएका थिए । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा १२ (म्यानेजमेन्ट) अध्ययनरत थिए । उनी परिवारको एक्लो छोरा थिए । बुबा–आमाको बुढेसकालको सहारा थिए ।

तमोर नदी नजिकै खस्यो गाडी, ठूलो मानवीय क्षतिको आशंका

पाँचथर । पाँचथरको तमोर नदी नजिकै गाडी दुर्घटनामा परेको छ । आज (शनिबार) कार्तिके नजिक एक गाडी खसेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका छन् । दुर्घटनास्थल नदी नजिक भएकाले जोखिम उच्च रहेको प्रत्यक्षदर्शी सागर ढकालले जानकारी दिए ।

हामी यहीँ छौँ । भर्खर त्यो घटनास्थलमै उद्धारको लागि पुग्ने प्रयास गरिरहेका छौँ । सबैले सकेको छिटो हेलिकप्टर एम्बुलेन्स वा गाडिहरू छिटो भन्दा छिटो पठाइदिनु होला,’ ढकालले भने । दुर्घटनामा ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने आंकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि दुर्घटना लगत्तै अहिले टोली परिचालन भएको जानकारी दिएको छ । घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।

 

भारी वर्षासँगै फर्किन थाले सवारीसाधन

काठमाडौं । मुलुकका अधिकांश स्थानमा परिरहेको भारी वर्षासँगै आज बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा नै फर्किन थालेको जानकारी दिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बिपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि फर्किन थालेको जानकारी दिए ।

‘अहिले पहिरोका कारण उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि काठमाडौँतिर नै फिर्ता भइरहेका छन्, यतिबेला उपत्यकाका चारै तिरका नाका बन्द छन्’, उनले भने, ‘सुरक्षित तरिकाले सवारीसाधनहरू होल्ड भएका छन्, भौतिक र मानवीय क्षति कम गर्न सडक यात्रा सुरक्षित छैन।’

सडक विभागले बिपी राजमार्गमा अहिले बिहान १० बजेपछि सवारीसाधनको प्रवेश रोक लगाइएको जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म नै भारी वर्षा हुने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कान्ति लोकपथमा आवागमन पूर्ण रूपमा बन्द
सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि कान्ति लोकपथमा अर्को सूचना नआएसम्मका लागि सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको पूर्वानुमानअनुसार हाल बागमती प्रदेशलगायतका क्षेत्रमा मनसुनी गतिविधि तीव्र बनेको र उच्च मात्रामा वर्षा भइरहेको हुँदा जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथ बन्द गरिएको जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयको स्थानीय प्रशासन शाखाद्वारा आज जारी गरिएको सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा क्षति न्यूनीकरणका लागि सो निर्णय गरिएको उल्लेख छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले जारी गरेको उक्त सूचनामा यात्रु तथा सम्बन्धित सबैलाई सतर्कता अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।