`

महिला क्रिकेट : नेपालले मलेसियालाई हरायो

काठमाडौं । अन्तर्राष्ट्रिय महिला ट्वान्टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई छ ‘विकेट’ ले पराजित गर्दै जित हासिल गरेको हो । यससँगै यो शृङ्खलामा नेपालले पहिलो जित दर्ता गराएको छ । यसअघि नेपाल मलेसियासँग पहिलो खेलमा तीन ‘रन’ले पराजित भएको थियो ।

आज मलेसियाले जितका लागि दिएको ९२ रनको लक्ष्य पच्छ्याएको नेपाल १६ दशमलव दुई ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३९ रन बनाइन् । त्यस्तै कप्तान इन्दु बर्मा २७ रनमा अविजित रहिन् भने रुबी पोद्दारले १५ रन बनाइन् । मलेसियाकी आयना हमिजाले दुई विकेट लिइन् भने नुर दानिया स्युहादा र नुर आलियाले समान एक-एक विकेट लिए ।

त्यसअघि ‘टस’ हारेर पहिले ‘ब्याटिङ’ को निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९१ रनको योगफल बनाएको थियो । मलेसियाका लागि आइना हमिजाले सर्वाधिक ५० रन योगदान दिएकी थिइन् । त्यस्तै कप्तान विनिफ्रेड दुरासिंघमले १५ रन बनाइन् ।

नेपालकी सोमु विष्टले दुई तथा तथा कविता कुँवरले एक विकेट लिए । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खला १–१ को बराबरीमा छ । नेपालले आगामी जनवरीमा घरेलु मैदानमा नै हुने आइसिसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप उक्त शृङ्खला खेलेको हो ।

बिपी राजमार्गमा सवारी साधन ‘होल्ड’

काभ्रेपलाञ्चोक । शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण बिपी राजमार्गका विभिन्न स्थानमा लेदासहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोेकेको छ ।

यात्री र सवारी साधनको सुरक्षालाई दृष्टिगत गर्दै ती स्थानबाट अगाडि जाने अनुमति नदिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुनिल धाँजुले जानकारी दिए ।

यसैबीच, पहिरोका कारण बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन भएको छ । धुलिखेल–खावाखण्डअन्तर्गत तिरतिरे धारामा पहिरो खसेकाले राजमार्गमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन गरिएको छ ।

काठमाडौंको कोहिनुर हाउजिङ आसपासका घर जोखिममा, सडक भासियो {तस्वीरहरु}

काठमाडौं । काठमाडौं महानगरपालिकाको करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ । आज रातिबाट अविरल झरी पर्दा बिहान ९ बजे काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको हो ।

सडकको छेउमा लगाइएको वाल भत्किएपछि कटान सुरु भएको छ। सडक भासिँदा सडक छेउका घरहरू जोखिममा पर्न सक्ने सम्भावना बढेको छ । त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागले नदी कटान रोक्ने प्रयास भइरहेको काठमाडौं महानगरले जनाएको छ ।

बस्तीमा डुबानको कारण समस्या भए नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको छ । महानगरले जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन अनुरोध गरेको छ ।

देशभर कुन राजमार्गको अवस्था कस्तो ?

काठमाडौं । अविरल वर्षाले देशभरको सवारी आवागमन प्रभावित भएको छ । लामो दूरी र काठमाडौं भित्रिने-बाहिरिने सवारी साधन सञ्चालनमा तीन दिनका लागि रोक लगाइएको छ । नेपाल प्रहरीले अहिले ११ बजेसम्म दिएको अपडेटअनुसार देशभरिका राजमार्गहरूको अवस्था निम्न रहेको छ ।

–काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाडौंबाट धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा, गोदाम, टखेल हुँदै जाने सडक खण्ड अर्को आदेश नभएसम्मका लागि दुवै तर्फका सवारी साधन होल्ड गरिएको ।

–धादिङ बेनिघाट रोराङ गापा १० जवाङखोला स्थित पृथ्वी लोकमार्गमा सडक माथिबाट पहिरो आई सडक पूर्ण रूपमा अवरुद्ध ।

–काभ्रेको बिपी र अरनिको राजमार्गमा अविरल बर्षातको कारणले धुलिखेल देखि प्रहरी चौकी दोलालघाट काभ्रेबाट सिन्धुपाल्चोकको सिमानासम्म दुबैतर्फी सवारी साधन अनिश्चित समयको लागि होल्ड ।

–रसुवामा बाढीले नेपाल र चिन नाका जोड्ने मितेरी पुल क्षति भएको छ । रसुवा गोसाइकुण्ड गापा वडा नं२ स्थित रसुवागढीमा बाढी आई नेपाल र चिन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवतजावत बन्द ।

–रसुवा गोसाईकुण्ड गापा वडा नं २ घट्टेखोला स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट ढुङ्गासहित सुख्खा पहिरोका कारण बाटो अबरुद्ध ।

–संखुवासभा भोटखोला गापा४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा अवरोध भएको । बर्षातको अवधिभर सुचारु हुन नसक्ने ।

– संखुवासभा मकालु गापा–३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पूर्णरुपमा अवरुद्ध ।
संखुवासभा मकालु गापा–३ एकुवास्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पहिरो झरी बाटो पूर्ण रूपमा अवरोध ।

– मिति २०८२।०६।१६ गते बिहिबार देखि २१ गते मंगलबारसम्म साँझ १७:०० बजेदेखि बिहान ०५ः०० बजेसम्म बिपी राजमार्ग पूर्णरुपमा बन्द रहने ।

–भोटकोशी गापावडा नं४ चारकिलो स्थित अरनिको राजमार्गमा २ मिटर सडक भासिन गई सडक अवरुद्ध ।

मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

म्याग्दी । मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ ।

शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूूर्ण गाउँपालिका–४ को कार्यालयले जनाएको छ । वडाध्यक्ष लोकबहादुर पुनले सार्वजनिक सूचना जारी गरेर वर्षा र हिमपातको सम्भावना भएकाले आधार शिविर तथा पदमार्गमा पर्यटकले दुःख पाउने तथा दुर्घटनाको जोखिम देखिएको हुँदा रोक लगाइएको जानकारी दिए ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । दसैँको बिदा सुरु भएपछि पदमार्ग र आधार शिविरमा घुमघामका लागि दैनिक १०० जनाको हाराहारीमा पर्यटकहरू जाने गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले सार्वजनिक सूचना जारी गरेर वर्षा नरोकिँदासम्म पुनहिल, घोडेपानी, मोहरेडाँडा, गुर्जा, ढोरपाटन, धौलागिरि चक्रीय पदमार्गलगायत पर्यटकीयस्थलको भ्रमणमा नजान अनुरोध गरेको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा शनिबारदेखि आगामी सोमबारसम्म साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भू–भागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै म्याग्दीमा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए ।

पूर्व सावधानी अपनाउन स्थानीय प्रशासनको अनुरोध

रसुवा । आज बिहानैदेखि वर्षा निरन्तर बढी रहेका कारण खोला तथा नदी क्षेत्रको तटीय क्षेत्रमा नबस्न आग्रह गरिएको छ । निरन्तर वर्षा भइरहने मौसमविज्ञको पूर्व अनुमानअनुरूप बिहान ४ः०० बजेदेखिनै पानी पर्न थालेको र रसुवाको भू–बनोट बढी भीरपाखा भएका कारण आउन सक्ने पहिरो एवं भलबाढीको जोखिमका सम्भावनालाई मध्यनजर राखी स्थानीय प्रशासनले ठाडोखोला तथा नदीको तटीय क्षेत्रका आसपासमा नबस्न जिल्लावासीलाई अनुरोध गरेको हो ।

सुरक्षित स्थानमा बस्न र अत्यावश्यक काम बाहेक घरबाट बाहिर नजान यदि जानैपर्ने जटिल अवस्था आएमा भरपर्दाे साथीलाई साथसाथै लिई सुरक्षित तवरले यात्रा गर्न अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष राजेश पन्थीका अनुसार रसुवाको लाङटाङ, तिवारी, चिलिमेको रोङ्गा, मैलुङ, फलाखु , राम्चेको छहरे, धोबी, घट्टे, भाँगे, तोर्मे, भोटेकोशीसमेतका खोला एवं त्रिशूली नदीसमेतका नदी खोलाहरूमा पानीको सतह बढ्न थालेको र सम्भावित भलबाढीबाट सुरक्षित रहन सबैमा अनुरोध गरिएको हो ।

यात्रुबाहक बस तथा अन्य सवारीसाधन चलाउने सवारी चालकहरूले यात्रुलाई दिसापिसाब गराउँदा समथर स्थानमा मात्र रोक्न समेत आग्रह गरिएको छ । पानी परुञ्जेल ठाडो खोल्छाको पानी प्रयोग गरी पिसानी घट्ट सञ्चालन नर्गन समेत अनुरोध गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

वर्षातमा लोकमार्गका यात्रुलाई सास्ती नै सास्ती

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा अन्तर बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा सामान्य वर्षा हुँदा पनि लेदोसहितको बाढी आउँछ ।

बाढीले करिब दुई मिटर सडकमा क्षति पुर्‍याएको छ । चार वर्ष अगाडि कालोपत्र भएको लोकमार्ग अहिले पूर्ण रूपमा जीर्ण बन्दा यात्रा असहज बनेको छ । दैनिक हजारौं यात्रु ओहोरदोहोर गर्ने राजमार्गको दूरावस्थाका कारण सास्ती खेप्नु परेको छ । ठूलो वर्ष हुँदा सवारीसाधन ठप्प हुन्छन्।

सवारीसाधन नचल्दा पश्चिम बागलुङको निसीखोलासहित पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा, जाजरकोट, सल्यान, डोल्पालगायत जिल्लाबाट राजधानी काठमाडौँ, पोखरा, चितवन, बुटवल पुग्ने यात्रुले सास्ती खेप्नुपरेको छ । निरन्तर वर्षा हुँदा एक सातासम्म पनि लोकमार्ग बन्द हुने गरेको छ । हिउँदमा पनि वर्ष भयो भने सडक बन्द हुने गरेको छ ।

सडक बन्द हुँदा घण्टौँसम्म अलपत्र पर्नुपर्ने बाध्यता रहेको गाडी चालक प्रितम थापा मगरले बताए । बन्द हुने सडक समयमा नखुल्दा धेरै पटक सडकमै बास बस्नुपरेको गुनासो गरे । बाढीसहित आएको लेदोमा गाडी फस्दा पाटपुर्जा बिग्रिएको उनको भनाइ छ । सडकलाई व्यवस्थित बनाउनका लागि सरोकारवाला निकाय उदासिन बनेको थापा मगरले बताए ।

उनले भने, ‘यो लोकमार्गले पश्चिम नेपाललाई जोडेपछि धेरैजसो यात्रु यही मार्ग प्रयोग गरेर काठमाडौँ जाने गर्छन्, पहिले हामीहरू सुर्खेतबाट दाङ, बुटवल हुँदै काठमाडौँ जाने गथ्र्यौं, अहिले यो राजमार्गले काठमाडौँसँगको दूरी छोटो बनाएको हुँदा यताबाट जाने गर्छौं तर कालापौराखोलामा आउने बाढीले धेरै पटक दुःख पायौँ, दुई-तीन वर्ष भयो, अहिलेसम्म पनि व्यवस्थित बन्न सकेको छैन ।’

मध्यपहाडी लोकमार्ग बागलुङमा सबैभन्दा बढी खण्ड निसीखोलामा पर्छ । पाखुट्टेदेखि पातीहाल्नेसम्म करिब ३८ किलोमिटर रहेको छ । अन्य ठाउँमा सडक सहज भए पनि कालापौराखोलामा बढी जोखिम छ । मध्यपहाडी लोकमार्गका सूचना अधिकारी उज्वल शर्माले ग्रामीण सडक व्यवस्थित नहुँदा लोकमार्गमा क्षति भएको बताए ।

निसीखोला गाउँपालिकाले कानाबगर बजारदेखि ओखरेनी गाउँ जोड्ने सडक निर्माण गरेपछि वर्षा हुँदा लेदोसहितको बाढी आएर लोकमार्ग अवरुद्ध हुने गरेको उनको भनाइ छ । कालापैराखोलामा आउने बाढी रोक्नका लागि ग्रामीण सडकनै व्यवस्थित बनाउनुपर्ने शर्माले बताए । यहाँको समस्या समाधान गर्नका लागि सडक विभागमै पत्र पठाउने उनी बताउँछन् ।

‘अहिले जनु ठाउँमा बाढीले सडक क्षति बनाएको छ, त्योभन्दा माथि ग्रामीण सडक छ, त्यो ठाउँ पनि अलिकति कच्ची रैछ, वर्षा भयो भने सबै बगेर आउँदो रहेछ, बाढी पन्छाएर सडक सुचारु गर्नका लागि एउटा मेसिन स्टानबाई राख्नु राखेका छौँ’, उनले भने, ‘स्थानीय तहले माथिल्लो क्षेत्रमा रहेको सडकलाई व्यवस्थित गर्‍यो भने यसको समाभान हुने थियो, हामीहरूले पनि अध्ययन गरेर समाधान कसरी गर्न सकिन्न छ भन्ने निचोड निकाल्ने छौँ ।’

सडकमा हिलो बग्दा कानाबगर बजारनै कुरूप बन्न थालेको छ । यसको दीर्घकालीन समाधान नहुँदा सामान ढुवानी र यात्रा गर्न धेरै गाह्रो हुने गरेको निसीखोला गाउँपालिका–५ का स्थानी थमबहादुर घर्ती मगरले बताए । लोकमार्गको वैकल्पिक सडक भए पनि सुचारु नभएको उनको भनाइ छ । लामो समयसम्म निरन्तर वर्षा भएर धेरै दिन लोकमार्ग बन्द हुँदै आएको घर्तीले बताए ।

काठमाडौंसहित अन्यत्र लगातार, कैलालीमा घनघोर बर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित धेरै क्षेत्रमा वर्षा भइरहेको छ ।

बिहानदेखि भने वर्षा बढ्न थालेको छ । लगातार झरी परिरहेको हो । अहिले पछिल्लो एक घण्टामै काठमाडौँमा ६, ललितपुरमा ९.८ र भक्तपुरमा पाँच मिलिमिटर वर्षा भएको छ । अहिले उपत्यका आसपासका जिल्लासहित तराई केन्द्रित वर्षा भइरहेको जल तथा मौसम विज्ञन विभागले जानकारी दिएको छ ।

पछिल्लो एक घण्टामा पर्सामा १० र रौतहटमा १०.६ मिलिमिटर वर्षा भएको छ । महोत्तरी र धनुषासम्म वर्षा भइरहेको जनाइएको छ । पछिल्लो १२ घण्टामा भने सबैभन्दा बढी कैलालीको गर्भामा ८३.२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिएका छन् । उनका अनुसार १२ घण्टामा पर्सामा ४० र बारामा २८ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ । रातिमा अझ धेरै वर्षा हुने जनाइएको छ । हाल विशेष गरी बागमती प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्व दिशातर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने भएकाले सतर्कता अपनाउनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन अनुरोध गरिएको छ ।

बाढी–पहिरोबारे जानकारी लिन मन्त्री घिसिङले बोलाए वैठक

काठमाडौं । अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर सडक अवरुद्ध हुन थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले विभागीय प्रमुखहरूको बैठक बोलाएका छन् ।

मन्त्री घिसिङको सचिवालयका अनुसार मौसम र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आज बिहान ११ बजे बस्ने गरी विभागीय प्रमुखहरूको बैठक बोलाएका हुन् ।

बैठकमा सडक सुरक्षा र सम्भावित विपद्बाट बच्न सकिने उपायबारे छलफल र निर्देशन हुने मन्त्री घिसिङको सचिवालयले जनाएको छ । अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यका भित्रिने–बाहिरिने सवारीसाधन तीन दिनका लागि बन्द

काठमाडौं । काठमाडौं भित्रिने / बाहिरिने लामो दूरीका सवारी साधनहरू तीन दिनका लागि बन्द गरिएको छ । शुक्रवारबाट निरन्तर भारी वर्षा भइरहेको र अझै २० गतेसम्म वर्षा जारी हुने पूर्वानुमानका कारण यातायात बन्द गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेकाले उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बन्द गरिएको जनाएको छ ।

‘सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने / बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको व्यहोरा निर्देशानुसार जानकारी गराइन्छ’, प्राधिकरणको सूचनामा भनिएको छ ।

शनिबार बिहान अत्यन्त जरुरी सूचना जारी गरी प्राधिकरणले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने / बाहिरिने सवारीसाधन आवतजावत आज असोज १८ देखि २० गतेसम्मका लागि बन्द गरिएको जानकारी दिएको हो ।

सूचनमा भनिएको छ, ‘लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने / बाहिरिने सवारीसाधन चलाउन रोक लगाइएका कारण यात्रु महानुभावहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी हुँदै सो अवधिमा अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद्सम्बन्धी आधिकारिक र अद्यावधिक सूचना तथा जानकारीहरू रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतबाट प्राप्त गर्नु हुनसमेत सूचित गरिन्छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान स्थगन

काठमाडौं । बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन् ।खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिए ।

उनले भने, ‘मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ । अन्तरराष्ट्रिय उडानहरू भइरहेका छन् । अविरल वर्षाका समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिकतर्फ भने अहिले उडान स्थगन गरिएको छ ।’

अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन् । काठमाडौँसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने रातिमा अझ धेरै वर्षा हुने जनाएको छ ।

सोल्टीमोडमा भासियो सडक, घर नजिकै पुग्यो खोला

काठमाडौं । काठमाडौंको सोल्टीमोडको पश्चिमतर्फ स्युचाटार खोलाले गर्दा सडक भासिएको छ । काठमाडौँ महानगरपालिकाले दिएको जानकारीअनुसार खोलाले घर नजिक करिब पाँच फिट मात्र दूरी बाँकी राखेको छ ।

महानगरपालिकाका अनुसार अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान त्यहाँ बोरा र ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको छ ।
कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरूः

–१६६००१०५५११
–०१५९०१७६४
–०१५९०१७६३ (केएमसी प्रहरी)

नागढुंगामा प्रहरीको माइकिङ : अगाडि नबढ्नु होला, सुरक्षित काठमाडौं फिर्ता हुनुहोला

धादिङ । धादिङको विभिन्न स्थानमा पहिरो गइरहेका कारण प्रहरीले यात्रा नगर्न अनुरोध गर्दै माइकिङ गरिरहेको छ । नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेको र तत्काल हटाउन सम्भव नरहेको भन्दै आज विहानैदेखि प्रहरीले यात्रा नगर्न अनुरोध गर्दै माइकिङ गरिरहेको हो ।

काठमाडौंको मुख्य नाका नागढुंगा चेकपोष्टमा तैनाथ प्रहरीहरूले माइकिङ गर्दै अगाडि नबढ्न अनुरोध गरिरहेका छन् । ‘धादिङको विभिन्न ठाउँमा पहिरो आएको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको हुँदा सम्पूर्ण चालक-सहचालक महानुभावहरू, तपाईंहरूलाई यहाँबाट पठाउन सकिँदैन ।

त्यसैले सुरक्षित तरिकाले काठमाडौं फिर्ता भई सुरक्षित रहनु हुन अनुरोध गर्दछौँ,’ प्रहरीले माइकिङ गर्दै भनिरहेको छ । यसैबीच पहिरोका कारण बिहानदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

धादिङ बेनिघाट रोराङ–१० जवाङखोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको र चितवनको इच्छाकामना–५ तुइनखोला पुलमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
पहिरो पन्छाने र सवारीसाधन पार गराउने कार्य जारी रहेको र जुनसुकै बेला ठूलो पहिरो खस्ने जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न उनले आग्रह गरेका छन् । पानी परिरहेको र ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले उच्च जोखिम भने कायम रहेको प्रहरी जनाएको छ ।

‘प्रचण्ड पथ’ लाई आधार बनाएर नयाँ पार्टी खोल्नु देशका लागि महादुर्भाग्यपूर्ण : रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले नयाँ पार्टी खोल्ने चर्चा भइरहेका बेला ‘प्रचण्ड पथ’ लाई आधार बनाएर फेरि पार्टी खोल्नु देशका लागि दुर्भाग्यपूर्ण हुने टिप्पणी गरेका छन् ।

आज (शनिबार) विहान सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै मिश्रले आफूले पनि २०७४ सालमा ‘प्रचण्डको संविधान २०७२’ को वैचारिकतालाई आत्मसात गर्दै ‘प्रचण्ड पथगामी’ पार्टी शुरु गर्नु जीवनकै ठूलो भूल भएको महसुस गरेको उल्लेख गरेका छन् । उनले गलत बाटोमा लागेको अनुभूति भएपछि पाँच वर्षपछि ‘मार्ग परिवर्तन’ गरेको बताएका छन् ।

संविधान २०७२ ले नेपाललाई अस्तित्व संकटतर्फ धकेल्ने चेतावनी दिँदै मिश्रले लेखेका छन्, ‘नयाँ खुल्ने पार्टीले सुरुमै ‘पृथ्वी पथ’ लाई अंगिकार नगरी ‘प्रचण्ड पथ’ लाई नै अंगाल्यो भने त्यो भावी पुस्ताका लागि महादुर्भाग्यपूर्ण हुनेछ ।’ मिश्रले ‘प्रचण्ड पथ’ ले सिर्जना गर्ने अशान्ति र अस्थिरता केवल नेपालमै सीमित नहुने दाबी गर्दै भारतसहित छिमेकी मुलुकका लागि पनि सुखद नहुने टिप्पणी गरेका छन् ।

प्रहरी जवान मध्यराति मृत भेटिए

डोटी । डोटीमा एक प्रहरी जवान मृत भेटिएका छन् । शुक्रबार मध्यरात जिल्लाको शिखर नगरपालिका–८ तिलताली घर भई नेपाल प्रहरीको जवान पदमा कार्यरत शंकर बलायर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।

केआई सिंह राजमार्ग अन्तर्गत गोपघाट भन्ने ठाउँमा एक जना व्यक्ति लडेको भनी मध्यरात १२ः१५ बजे प्रहरीलाई सूचना आएपछि प्रहरी टोलीले उनलाई मृत अवस्थामा फेला पारेको हो । बलायरको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए । उनी असोज ७ गतेदेखि लागु हुने गरी १८ दिनको बिदामा आएका थिए ।

 

नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडक खण्ड अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडक खण्ड अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो। अहिले सडक दुईतर्फी नै अवरुद्ध छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, आज बिहान २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखेलामा पहिरो खसेको थियो । त्यसलगत्तै राजमार्ग बन्द भएको हो । प्रहरी, स्थानीयबासिन्दा र यात्रुको प्रयासमा त्यो ठाउँमा बाटो खुलाइएको थियो ।

तर फेरि माथिबाट पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ । पानी परिरहेको र ढुंगा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाइएको छैन । यो सडक खण्डमा पटक–पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाउँदै आएका छन् ।

 

शनिबार चार प्रदेशका नदीमा बहाव बढ्न सुरु हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ । विभागले आजसम्म भने देशका सबै प्रमुख नदीहरूमा जलसतह सामान्य र स्थिर रहेको जानकारी गराएको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले शनिबार दिउँसोसम्म सबै प्रमुख नदीहरूमा अवस्था सामान्य नै रहे पनि त्यसपछि भने केही नदीहरूमा पानीको बहाव बढ्न सुरु हुने जानकारी दिए ।

‘शनिबार राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ’, उनले भने, ‘आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाव उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्नेछ ।’

आइतबार रातिदेखि प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै जाने र कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने पराजुलीले जानकारी दिए । उल्लिखित पूर्वानुमानअनुसार बाढी र डुबान हुन सक्ने, पहिरो जान सक्ने क्षेत्रहरूमा उच्च सतर्कता आवश्यक रहेको उहाँको भनाइ छ ।

केही दिन मुख्य राजमार्ग नै प्रयोग गर्न सुझाव
सडक विभागले दसैँमा विभिन्न स्थानमा आवतजावत गर्ने सडक यात्रुहरूलाई केही दिन मुख्य राजमार्गको प्रयोग गर्न सुझाव दिएको छ । मुख्य राजमार्गमा नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत सुरक्षाकर्मीको व्यवस्था हुनाका साथै बाटो मर्मतको कार्य पनि चाँडो हुने भएकाले मुख्य राजमार्ग प्रयोग गर्न विभागले सुझाएको हो ।

जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सुझाव दिइरहेको बेलामा विभागले सकेमम्म अनावश्यक रूपमा यात्रा नगर्न, यात्रा गरे पनि रातको समयमा यात्रा बढी जोखिमपूर्ण रहेकाले दिउँसो यात्रा गर्न सुझाएको छ ।

विजया दशमीका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने क्रम जारी रहेसँगै रातको समयमा यात्रा गर्दा पहिरोका कारण बढी धनजनको क्षति हुन सक्ने भएकाले सकेसम्म रातमा यात्रा नगर्न विज्ञहरूले पनि सुझाव दिएका छन् ।

विभागका प्रवक्ता प्रभातकुमार झाले असोज २० गतेसम्म बाढी पहिरो जस्ता मनसुनजन्य विपद्का घटनाहरू बढ्न सक्ने र यसले राजमार्ग अवरुद्ध गरेमा तत्काल बाटो खुलाउने प्रयास गरिने तयारी भइरहेको बताए ।

‘पहिरोका कारण राजमार्ग अवरुद्ध भएको अवस्थामा हामी जतिसक्दो चाँडो बाटो खुलाएर यातायात व्यवस्थालाई सहज त गर्ने प्रयास गर्छौं । तर अस्वाभाविक रूपमा बाढी पहिरो आएर फिल्डमा खटिनै गाह्रो भयो भने तत्कालका लागि केही गर्न सक्दैनौँ’, उनले भने, ‘तसर्थ केही दिन यात्रा नगरौँ । गर्नै परेमा मुख्य राजमार्ग प्रयोग गरौँ ।’

जनकपुरमा दुई समुदायबीच तनाव, कर्फ्यू आदेश जारी

जनकपुर । धनुषाको देवपुर रुपैठामा दुई समुदायबीच फेरि तनाव सिर्जना भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रूपैठामा दसैँ समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो ।

प्रहरीले झडप नियन्त्रणमा लिन र थप क्षति हुन नदिन २३ सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा ढुङ्गामुढाबाट केही प्रहरी र स्थानीय समेत घाइते भएका छन् । तनाव भएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

साँझ६ः३० बजेदेखि वडा नम्बर २० को विभिन्न स्थानभित्र कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । आक्रोशित भीडले केही अर्को समुदायको घरमा समेत आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिए ।

गत भदौ दोस्रो साता मात्रै गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदाय बीच झडप भएको थियो । एक समुदायले पोलमा राखेको झण्डा अर्को समुदायले हटाउन खोज्दा विवादपछि दुवै समुदायको झन्डा हटाइएको थियो । भदौ १६ गते मात्र सर्वपक्षीय बैठक बसेर विभिन्न निर्णयसँगै सद्भाव कायम गर्ने सहमति भएको थियो ।

 

काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलको ‘पट्रोलिङ’ र ‘माइकिङ’

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा र कतिपय स्थानमा अतिभारी वर्षा हुन सक्ने प्रक्षेपण गरेसँगै सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझदेखि नै काठमाडौँका जोखिमयुक्त स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरेको छ ।

सम्भावित मनसुनजन्य विपदलाई मध्यनजर गर्दै चोभार, बल्खु, बालाजु, माछापोखरी र बनस्थलीलगायत स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सशस्त्र प्रहरी बलले खोला किनार तथा डुबान हुन सक्ने सम्भावित ठाउँको पहिचान गरी त्यस इलाकाका बासिन्दालाई सुरक्षित रहन र तत्काल उद्धार आवश्यक परेमा १११४ मा तत्काल फोन गर्न समेत आग्रह गरेको हो ।

यसैबीच, सशस्त्र प्रहरीले सम्भावित जोखिम न्यूनीकरण र विपद् प्रतिकार्यका लागि देशभरका युनिटलाई आवश्यक श्रोत साधनसहित तयारी अवस्थामा राखेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै युनिटलाई विपद् पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको सहप्रवक्ता थापाले जानकारी दिए ।

विपद्को अवस्थालाई मध्यजनर राख्दै सशस्त्र प्रहरीका गोताखोर, विपद् उद्धार तालिम प्राप्त जनशक्ति, र्याफ्ट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट, एम्बुलेन्सलगायत उपकरण तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

विपद् पूर्व तयारी र प्रतिकार्यबारे गृहमन्त्रीको चासो
यसैबीच, आजै गृहमन्त्री ओमप्रकाश अर्यालले सशस्त्र प्रहरी बलको उपत्यकास्थित इकाईको विपद् प्रतिकार्य पूर्व तयारी एवं परिचालनसम्बन्धी जानकारी लिनुभएको छ । सो अवसरमा कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल तथा उपत्यका स्थित युनिटका कमाण्डरहरुले विपद पूर्व तयारीबारे गृहमन्त्रीलाई जानकारी गराएको सहप्रवक्ता थापाले जानकारी दिए ।

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप बढी सक्रिय हुँदा मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आज साँझको मौसमी बुलेटिन जारी गर्दै आगामी २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जानकारी दिएको छ ।

अरब सागर र बङ्गालको खाडीमा उत्पन्न भएको मनसुनी वायु शनिबार बिहानदेखि थप सक्रिय रहने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मौसमविद् प्रतिमा मानन्धरले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिँदै शनिबार र आइतबार मुुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा सोमबारदेखि भने मौसम क्रमिक रुपमा सुधार हुने जानकारी दिइन् ।  ‘हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ’, उनले भनिन् ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग र मधेस प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति भने कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका अधिकांश स्थानमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार दिउँसो भने देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आइतबार राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने माहाशाखाले जनाएको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशकालगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराईका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ ।

बाढी–पहिरोको जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कार्यालयले आज (शुक्रबार) जारी गरेको विज्ञप्तिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने भएकाले कतिपय स्थानमा भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको उल्लेख छ । यसले गर्दा नदीनाला र खोलानालाको सतह आकस्मिक रूपमा बढ्ने र बाढी–पहिरो, डुबान, कटान तथा भूक्षयको सम्भावना रहेको चेतावनी दिइएको छ ।

विशेष गरी मधेश प्रदेशको तराई, नारायणी, बागमती, कोशी र कर्णाली नदी क्षेत्र, साथै काठमाडौं उपत्यका र पूर्वी तराईका जिल्लामा उच्च जोखिम रहेको उल्लेख छ । बागमती प्रदेशका काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, चितवन तथा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा र मोरङमा जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही र आसपासका जिल्लामा जोखिम रहेको पनि उल्लेख छ ।

कार्यालयले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपांगता भएका व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ । साथै, स्थानीय तह, विपद् व्यवस्थापन समिति, सुरक्षाकर्मी, स्वयंसेवक तथा सरोकारवाला निकायलाई पूर्वतयारी र राहत–उद्धारका लागि तयार रहन निर्देशन दिइएको छ ।

जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमान अनुसार यही असोज १७ गतेदेखि २० कतिपय स्थानमा भारी वर्षा र कतिपय स्थानमा अति भारी वर्षा हुन सक्ने तथा नदीहरूमा उल्लेख्य रूपमा पानीको सतह बढ्न गई खतरा तहको आसपासमा पुग्ने सम्भावना देखिएको छ ।

हेर्नुस् सूचना

विपद जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमण गरी उनले उक्त निर्देशन दिएका हुन् ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद्सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवम् विपद् उद्धार सामग्री भण्डारको अवलोकन गर्नाका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिए । निरीक्षणपश्चात् यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले सीमित स्रोत साधन र तालिमको कमीका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको बताए ।

सम्भावित विपद्को जोखिमबाट हुनसक्ने जनधनको क्षति नियन्त्रण एवम् न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्नेगरी तयारी अवस्थामा रहन उनले निर्देशन पनि दिए । नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले विपद् घटना तथा प्रहरी परिचालन, मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य योजना, प्रभावकारी प्रतिकार्यका आवश्यकता र भावी योजनालगायत विषयमा प्रस्तुतीकरण गरेका थिए ।

अरनिको राजमार्गसहित सिन्धुपाल्चोकका मुख्य र सहायक मार्ग तीन दिन राति बन्द

सिन्धुपाल्चोक । जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान जारी गरेपछि सम्भावित बाढी–पहिरोको जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा रातका समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयले अवस्था हेरेर अन्य समयमा पनि राजमार्ग आकस्मिक बन्द गर्न सक्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आज बसेको बैठकले यही असोज १७ देखि २० गतेसम्म साँझ ७ देखि बिहान ५ बजेसम्म अरनिको राजमार्गसहित जिल्लाभित्रका सबै मुख्य तथा सहायक सडकमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । दमकल, एम्बुलेन्स जस्ता अत्यावश्यक सेवामा प्रयोग हुने साधन भने सुरक्षित भएर चल्न पाउने छन् ।

नदी किनाराका बस्तीका बासिन्दालाई सुरक्षित रहन अपिल गर्दै सुरक्षा परिचालनको तयारी पूरा भएको प्रशासनले जनाएको छ । बैठकले स्थानीय तह, सुरक्षा निकाय, उद्योग वाणिज्य सङ्घ, स्वास्थ्य संस्था र स्वयंसेवकलाई विपद् व्यवस्थापनमा पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

खोक्सिकमा ‘एक घर, एक धारा’ अभियान

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा सञ्चालन गरिएको ‘एक घर, एक धारा’ निर्माण काम अन्तिम चरणमा पुगेको छ । स्थानीयलाई स्वच्छ पानीको सहज पहुँच विस्तार गर्ने उद्देश्यले योजना सञ्चालन गरिएको हो ।
वडाबाट निर्माण तथा मर्मत गरिएका योजनाहरुमार्फत धारा जडान भएपछि स्थानीयले घण्टौँ समय खर्चेर पानी जोहो गर्नुपर्ने समस्या अन्त्य भएको  छ । वडाले  करिब रु १५ लाख बजेट विनियोजन गरेर यहाँ पुराना मुहानको मर्मतसँगै नयाँहरु योजना सञ्चालन गरेपछि स्थानीय सहज रुपमा पानीको पहुँचमा जोडिएका छन् ।
खोक्सिक क्षेत्रमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि भइरहेको काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष बाचकुमार राईले बताए। धेरै वटा पुराना पानी ट्याङ्की मर्मत कार्य समेत सम्पन्न भएकाले दशकौँदेखिको पानीको समस्या अन्त्य भएको उनको भनाइ छ । यहाँ निर्माण भएका खानेपानी योजनाहरु ३०/३२ वर्ष पुराना भएकाले विभिन्न समस्या देखिएपछि स्थानीयलाई सहज रुपमा पानी वितरणका लागि संरक्षणको काम गरिएको वडाध्यक्ष राईको भनाइ छ ।
‘हामीले जीर्ण खानेपानी आयोजनाको पनि मर्मतसम्भार गरिरहेका छौँ’, उनले भने, ‘विगतका योजना धेरै पुराना भएकाले पानी वितरण समस्या छ । स्थानीयलाई सहज रुपमा पानी खाने वातावरण बनाउने संरक्षणका काम गरेको हौँ ।’
खोक्सिक सुक्खाग्रस्त क्षेत्र भएकाले खानेपानी, विद्युत् र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाले जनाएको छ । साथै, पुराना पानी ट्याङ्कीको मर्मत तथा नयाँ खानेपानी मुहानको खोजीलाई निरन्तरता दिइएको पनि वडा कार्यालयले जनाएको छ ।

कति सकियो राहुघाट जलविद्युत् आयोजनाको काम ?

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
९० प्रतिशत भौतिक प्रगति भएको राहुघाटको सिभिल ठेक्काको सम्झौताको तेस्रो पटक थपिएको म्याद सन् २०२५ नोभेम्बर २७ सम्म छ । सुरुङ, बाँध र विद्युत गृहको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुुगेको आयोजनाको विद्युुत गृहमा उपकरण जडान थालिएको रघुुगङ्गा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज विष्टले बताए ।
ठेकेदारले दसैँको समयमा पनि ५०० जना भन्दा बढी मजदुुर परिचालन गरेर निर्माणलाई निरन्तरता दिएको उनले बताए । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६ गते) रु छ अर्बमा ठेक्का सम्झौता गरेको थियो ।
सन् २०२२ फेब्रुअरीमा पहिलो र सन् २०२२ फेब्रुअरीमा दोस्रो पटक थपिएको म्याद गत जुन २७ मा सकिएको थियो । कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको हो ।  विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि विद्युत गृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन । भेलसँगको ठेक्काको म्याद आगामी डिसेम्बर ३१ सम्म छ ।
कार्ययोजनाअनुसार ठेकेदारले काम गरेमा आगामी डिसेम्बरमा राहुघाट निर्माणसम्पन्न हुने आयोजना व्यवस्थापक बिष्ट बताए । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झीँ को फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम ९० प्रतिशत सकिएको छ ।
भारतीय आयात निर्यात (एक्जिम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो ।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।
यस आयोजनाले वार्षिक रु २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।

तीन जिल्ला प्रशासनको आग्रह : अत्यावश्यक बाहेक पृथ्वी राजमार्गको यात्रा नगर्नू

तनहुँ । पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन तनहुँ, चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयले संयुक्त सूचना जारी गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यही असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेकाले संयमित भएर यात्रा गर्न ती कार्यालयले संयुक्त रुपमा अनुरोध गरेका हुन् ।

विभागका अनुसार भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको र उक्त पूर्वानुमान बमोजिन वर्षा भएमा सडक आवागमन थप जोखिमयुक्त हुनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै संयुक्त रुपमा सूचना जारी गरी सार्वजनिक अपिल गरिएको छ ।

भारी वर्षा हुने पूर्वानुमान गरिएको समय (आगामी २० गते) सम्म अत्यावश्यकबाहेक यात्रा नगर्नुहुन, यात्रा गर्नुपर्दा दिनको समयमा आ–आफ्नो गन्तव्यमा पुग्ने गरी गर्नु हुन तथा रातको समयमा यात्रा नगर्नू हुन अनुरोध गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायबाट आवश्यक जानकारी लिएर मात्र गर्न अनुरोध गरिएको छ ।

समय सीमाभित्र अत्यावश्यकबाहेक मालवाहक ठूला सवारीसाधन नचलाउन हुन पनि सूचनामा अनुरोध गरिएको छ । पूर्वानुमान बमोजिम वर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गमा आवागमन बन्द गर्नुपर्ने अवस्था समेत आउन सक्ने भएकाले त्यस्तो अवस्थातर्फ सचेत एवं सतर्क रही आवश्यक सहयोग गरिदिनु हुन सम्पूर्ण यात्रु महानुभाव एवं संघ–संस्थामा अपिल गरिएको प्रजिअ अधिकारीले बताए ।

सडकको अवस्थालगायत विषयमा गुनासो एवं थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी शरणकुमार विक ९८५६०६२२५५, जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश दाहाल ९८५१२२९८६० र जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी ।

ललितपुरका सीडीओले गरे चोभार गल्छी निरीक्षण, सतर्कता अपनाउन ‘माइकिङ’

काठमाडौं । केही दिन भारीसम्म वर्षा हुने प्रक्षेपण गरिएपछि ललितपुर प्रशासनले उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको निरीक्षण गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ गतदेखि २० गतेसम्म मनसुनी वायुको प्रभावले भारी बर्षा हुने प्रक्षेपण गरेपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित जिल्ला सुरक्षा समितिका सुरक्षा प्रमुखहरुले चोभार गल्छी निरीक्षण गरेका हुन् ।

नख्खु खोला, बागमती खोला चोभार गल्छी भएर निकास निस्कने क्रममा आसपासका क्षेत्रमा पार्न सक्ने असर र जनधनको सुरक्षा गर्नका लागि निरीक्षण गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । उनले चोभार गल्छी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरे । तीन दिनसम्म कान्ति लोकपथमा बेलुका ४ देखि बिहान ६ बजेसम्म आवतजावतमा बन्द गरिएको उनले जानकारी दिए ।

जिल्लाको बागमती गाँउपालिकालगायत दक्षिणी भू–भागमा बाढि पहिरोको खतरा रहेकाले जोखिमयुक्त स्थानभन्दा अलि टाढा अस्थायी बसोबासको व्यवस्था मिलाउन सम्बन्धित पालिकालाई पत्राचार गरिसकेको ललितपुर प्रशासनले जनाएको छ । प्राकृतिक बिपद् न्यूनिकरणका लागि आवश्यक सवै सुरक्षा तयारी गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताएका छन् । उनले सुरक्षित स्थानमा गएर बस्न र धन सम्पत्तिको सुरक्षा गर्न अनुरोध गर्दै प्रहरीले माइकिङ गर्ने जानकारी दिए ।

‘जेनजी मुभमेन्ट’ को नाममा आन्दोलन घोषणा

काठमाडौं । पछिल्लो समय विभिन्न समूह र व्यक्तिहरूले नेतृत्व दाबी गरिरहेको जेनजी आन्दोलन पुनः चर्चामा आएको छ । ‘जेनजी मुभमेन्ट नेपाल’ नामक समूहले आउँदो असोज २३ (अक्टोबर ९) मा शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गर्दै सरकारमाथि कडा आरोप लगाएको छ ।

बालुवाटार ठेगाना उल्लेख गरिएको मुभमेन्टको लेटरहेडमा जारी विज्ञप्तिमा, अन्तरिम सरकार ‘लाचार र अलमलिएको’ भन्दै सस्तो लोकप्रियताको पछाडि मात्र लागेको आरोप लगाइएको छ । विज्ञप्तिमा केही छानबिन र गिरफ्तारीको नाटक गरेर जनतालाई भ्रममा पार्ने कार्य अब चल्ने अवस्था नरहेको जनाइएको छ ।

समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा मुलुकलाई लैजानुपर्ने आवश्यकता औंल्याउँदै त्यसकै पक्षमा आन्दोलनको आह्वान गरेको छ । ‘यो लडाइँ सत्ता हात पार्ने होइन, व्यवस्था बदल्ने हो’, विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्ति अनुसार आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने बताइएको छ ।

यद्यपि, यदि आवाज दबाउने प्रयास भयो वा आन्दोलनकारीको बलिदानलाई तोडमोड गर्ने चेष्टा गरिएमा ‘कडा प्रतिवाद’ हुने चेतावनी पनि दिइएको छ । यसअघि असोज १३ गतेका लागि घोषणा गरिएको प्रदर्शनबारे विभिन्न मतहरू आएका थिए । जेनजी अलायन्स लगायतका समूहले त्यो दिन कुनै प्रदर्शन नभएको बताएका थिए । तर यो नयाँ घोषणासँगै जेनजी आन्दोलनको नेतृत्व र उद्देश्य फेरि बहसको विषय बनेको छ ।

‘दसैं–तिहार चेलीलाई उपहार अभियान’ : निःशुल्क यातायात

संखुवासभा । संखुवासभामा दसैँं–तिहारको अवसरमा युवाहरूले छोरीचेलीलाई माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा सुरु गरेका छन् ।

जिल्लामा ‘दसैं तिहार चेलीलाई उपहार अभियान’ नाम दिइएको यो कार्यक्रम यही असोज १५ गतेदेखि सुरु गरिएको हो । माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा सुरु गरिएको संयोजक मेघराज तोलाङ्गीले बताए ।

निःशुल्क सेवा दसै‌को पूर्णिमासम्म उपलब्ध हुनेछ । माइत र मावल आवतजावतमा सहज बनाउने अभियानमा छ वटा मोटरसाइकल रहेका छन्। दुईवटा चारपाङ्ग्रे सवारी साधनमार्फत अहिलेसम्म दुई दर्जनभन्दा बढी छोरीचेलीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याइएको छ । आज पनि बिहानैदेखि युवाहरूले छोरीचेलीलाई माइत मामल आवतजावत गराइरहेको संयोजक तोलाङ्गीले बताए ।

विशेष गरी गाउँघरमा सवारी साधनको पहुँच कम भएका र आर्थिक अवस्था कमजोर भएका परिवारलाई ठूलो राहत प्रदान गरेको उनको भनाइ छ । माइती–मावली सेवाको यो पहलले स्थानीयको मन जितेको छ । अभियानलाई समर्थन गर्न स्थानीय दाताहरुले युवालाई पेट्रोल भरिदिने र अन्य सहयोग प्रदान गर्ने गरेको संयोजक तोलाङ्गीले बताए ।

यो अभियानले सामाजिक उत्तरदायित्व र निःस्वार्थ सेवाको भावनालाई प्रोत्साहन गरेको छ । समुदायको साथ सहयोग पाउँदै गएको अभियानले यस वर्ष अझ बढी छोरीचेलीलाई सहज र सुरक्षित आवतजावत उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

दशैं विदामा मानवअधिकार आयोगमा एउटा मात्र उजुरी

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरस्थित आफ्नो केन्द्रीय कार्यालयसहित देशका ११ वटै कार्यालयमा दसैँ बिदामा पनि उजुरी दर्ता र आकस्मिक घटनामा अनुगमनलाई निरन्तरता दिएको छ ।

आजसम्म जनकपुर प्रादेशिक कार्यालयमा मानव अधिकार उल्लङ्घन भएको एउटा घटनाको उजुरी प्राप्त भएको र त्यसको तत्काल सोही कार्यालयबाट अनुगमन गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।

सार्वजनिक बिदा तथा चाडपर्वका बेला सर्वसाधारणको आवतजावतमा कठिनाइ हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ ।

विपदजन्य घटनाबाट जोगिन आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले आज शुक्रबारदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएकाले विशेष सतर्कता अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

कास्की प्रशासन कार्यालयले सम्भावित वर्षाका कारण बाढीपहिरा, डुबान, हिमपात आदि विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन सार्वजनिक सूचना जारी गरी सम्बद्ध सबैसँग अनुरोध गरेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भू–भागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै सो कार्यालयले यस किसिमको सूचना जारी गरेको हो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले नागरिकको जिउधनको सुरक्षालाई दृष्टिगत गरी आगामी सोमबारसम्म अति जरुरी काम नपरी टाढाको दुरीमा र रातिको समयमा यात्रा नगर्न तथा नदी एवं खोला आसपासका क्षेत्रमा रहँदा विशेष सावधानी अपनाउन सम्बद्ध सबैसँग अनुरोध गरिएको जानकारी दिए ।

यसैगरी आगामी सोमबारसम्म राजमार्ग तथा ग्रामीण सडकमा संयमतापूर्वक सवारीसाधन सञ्चालन गर्न र क्षमताभन्दा बढी यात्रु नचढाउन यातायात व्यवसायी एवं सवारी चालकको समेत कास्की प्रशासनले ध्यानाकर्षण गरेको छ ।

यसै सन्दर्भमा बिरेठाँटीदेखि घान्द्रुक तथा उल्लेरी, लुम्लेदेखि लान्द्रुक र काहुँखोलादेखि ताङतिङ–सिक्लेस जाने सवारीसाधन शुक्रबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि दिउँसो चार बजेभित्र छुटिसक्ने व्यवस्था मिलाइएको छ । सोही मार्गबाट फर्कने सवारीसाधनलाई शनिबार बिहान ५ बजेपछि मात्र छुट्ने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।

त्यस्तै उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकाले अन्नपूर्ण हिमाल, मर्दी हिमाललगायतका क्षेत्रको पदयात्रामा नजान पदयात्री तथा पर्यटकलाई आग्रह गरेको छ । कुनै विपद्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाइ, सुरक्षा निकाय र स्थानीय प्रशासनमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

स्थानीय तह, रेडक्रससहित साझेदार संस्था, निजी क्षेत्र, नागरिक समाजलगायत सरोकार भएका सबै पक्षलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सचेत गरिएको छ । कास्की प्रशासन कार्यालयले गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य राजमार्ग र अन्य जोखिमयुक्त सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकाय तथा कार्यालयलाई अनुरोध गरेको छ ।

राति यात्रा नगर्न सडक विभागको अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन सबैमा आग्रह गरेको छ ।

वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद प्रतिधार्य कार्यका निम्ति तयार रहन आह्वान गरेको छ ।

साथै विभागले नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

घरपालुवा जनावरका लागि खोप अभियान

कञ्चनपुर । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले स्थानीय तहसँग समन्वय गरी घरपालुवा जनावरलाई संक्रामक रोगबाट जोगाउनका लागि खोप अभियान सञ्चालन गर्ने भएको छ ।

केन्द्रका पशु विकास अधिकृत शिवराज भट्टका अनुसार गाईभैँसी, बाख्रा, बंगुरलगायतका घरपालुवा जनावरलाई विभिन्न संक्रमक रोगविरुद्ध खोप लगाइने भएको हो । ‘तत्काल खोप अभियानल सञ्चालनका लागि भेटेरिनरी सकायमा अध्यायन गरेका प्राविधिक, निजी क्षेत्रमा कार्यरत पशु स्वास्थ्यकर्मी तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्तालाई सूचीकृत गर्ने कार्य भइरहेको छ’, उनले भने, ‘तिहार पश्चात खोप अभियान सञ्चालन गर्छौ ।’

जिल्लाका नौ वटै स्थानीय तहलाई पत्राचार गरी पशु प्राविधिक सूचीकृतको कार्य अगाडि बढाइएको उनले जानकारी दिए । उनले खोप कार्यक्रमलाई पशुपालकका गोठमै पुगेर लगाउने व्यवस्था मिलाइने बताए । विगतका वर्षझै यसवर्ष पनि खोरेत, पिपआर लगायतका खोप अभियान सञ्चालन हुने छन् ।

उनले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका घरपालुवा जनावर जंगली जनावरको सम्पर्कमा आउने सम्भावना बढी हुन्छ, यसले गर्दा संक्रामक रोग सर्ने खतरा हुन्छ र त्यसैले खोप अभियानलाई यस क्षेत्रमा बढी केन्द्रित गर्छौ, त्यसबाहेकका क्षेत्रमा पनि खोप अभियान सञ्चालन हुन्छ ।’ घरपालुवा जनावरमा प्रायः खोरेत, पिपिआर लगायतका रोग देखिने गर्छ ।

यी रोगविरुद्ध समयमै खोप लगाउन नसक्दा ठूलो मात्रामा जनावर मर्ने, दूध–मासु उत्पादन घट्ने र किसानको जीविकोपार्जनमा गम्भीर असर पर्ने देखिन्छ । ‘यस अभियानले पशुधनको स्वास्थ्य सुधार गर्नुका साथै किसानको आयआर्जन सुरक्षित गर्ने विश्वास लिएका छौंँ’, उनले भने, ‘घरपालुवा जनावरबाट जंगली जनावरमा रोग सर्ने जोखिम कम गर्ने उद्देश्यले पनि अभियानलाई अघि बढाइने तयारी गरिएको छ ।’

उनका अनुसार खोप लगाइएपछि पशुपालक किसानले आफ्नो जनावर रोगबाट सुरक्षित भएको अनुभूति गर्ने छन् । यसले दूध, मासु उत्पादनमा वृद्धि गर्ने मात्र होइन, पशुधनमा आधारित परिवारको जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । रेविजविरुद्धको खोप भने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा बाह्रैमहिना किसानलाई निःशुल्क रुपमा उपलव्ध गराउने व्यवस्था रहेको छ ।

राजनीति र समाज कुनै एक पुस्ताको मात्र हुँदैन : शंकर पोख्रेल

काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोख्रेलले राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको मात्र विषय नभएको बताएका छन् । ‘पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ’ सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्दैन ।’

खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा रहेको उल्लेख गर्दै उनी थप्छन्, ‘समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनु हुँदैन ।’

गैंडाकोट बन्दैछ धार्मिक तथा पर्यटकीय गन्तव्य

नवलपुर । नेपालको मध्यभागमा पर्ने जिल्लाको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने गैँडाकोट नगरपालिका धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ । गैँडाकोटमा ऐतिहासिक धार्मिक क्षेत्रहरु धेरै रहेकाले यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

गैँडाकोट नगरपालिकामा सबैभन्दा बढी धार्मिक तथा पर्यटकीय क्षेत्रहरु वडा नं १ मा रहेका नगरप्रमुख मदनभक्त अधिकारीले बताए । यस क्षेत्रमा हिन्दू धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल देवघाटको साथै मौलाकालिका मन्दिरसहित अन्य धेरै धार्मिक मठमन्दिर समेत रहेका उनको भनाइ छ ।

यस नगरपालिकाका प्रमुख धार्मिक, सांस्कृतिकस्थलहरुमा देवघाट, मौलाकालिका मन्दिर, कैलाश सन्यास आश्रम, श्रीलक्ष्मी नृसिंह दिव्यधाम, लक्ष्मीनारायण मन्दिर, गैँडाकट्टा शिला, मुकुन्दसेन दरबार, महाबौद्ध गुम्बा, नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्जलगायत रहेका अधिकारीले बताए ।

देवघाटधाम
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार गैँडाकोटबाट करिब छ किलोमिटर उत्तरमा त्रिशूली र कालीगण्डकी नदीको पवित्र सङ्गमस्थल देवघाटधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको धार्मिक क्षेत्र हो ।

दामोदर कुण्डबाट सुरु भएर नवलपुर र तनहुँकोबीचबाट बग्दै आएकी कृष्णगण्डकी (कालीगण्डकी) तथा गोसाइँकुण्डस्थित त्रिशूलधाराबाट सुरु भएर चितवन र तनहुँको बीचबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थलको रुपमा रहेको स्थान हो देवघाटधाम । मुख्यतयाः देवघाटधाम तनहुँमा पर्ने भए पनि यसले नवलपुरको गैँडाकोट र चितवको भरतपुरलाई समेत समेटेको बरालले बताए ।

शान्ति र आध्यात्मिक उन्नयनको लागि अति महत्वपूर्ण यस क्षेत्रमा नदी, हरिया पहाडका सुन्दर परिदृश्यलगायत जैविक विविधता अवलोकन गर्न सकिने बरालले बताए । हिमवत्सखण्ड नेपाल महात्म्यमा उल्लेख भएअनुसार देवताका पनि देवता महादेव शङ्कर आफ्ना गणहरुका साथ यहाँ बस्नुहुन्थ्यो, त्यसैले यसको नाम देवघाट रहन गएको हो ।

गलेश्वर आश्रम चक्रेश्वरशिला, सीता गुफा, वशिष्ट गुफा, हरिहर मन्दिर, महेश सन्यास–आश्रम, राम मन्दिर यज्ञशाला, कठस्तुप, सिद्धीगणेश, गोपीधाम, सूर्यकण्ड जस्ता पवित्रस्थल रहेको देवघाट क्षेत्रमा पशुपतिनाथको दर्शन गर्न आउने हिन्दू धर्मावलम्बीहरुलाई वा भारतीय पर्यटकलाई आकर्षण गरी जलमार्गबाट गोलाघाट हुँदै त्रिवेणीधाम वाल्मीकि आश्रमसम्म पुर्‍याउनसके यसले पर्यटकको बसाइँ अवधि विस्तार गर्न सकिने बरालको भनाइ छ ।

स्कन्ध पुराण हिमवत्सखण्डको अध्याय ४४ पृष्ठ ९९ मा उल्लेख भएअनुसार पुथ्वीमा भएका तीर्थस्थलमध्ये सबैभन्दा फल दिने पवित्रस्थल देवघाट सङ्गम हो भनेर व्याख्या गरिएको छ । नवलपुर, तनहुँ र चितवन तीनवटा जिल्लामा करिब पाँच हजार ४३४ हेक्टर क्षेत्रमा फैलिएको देवघाट क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यस्थलको रुपमा व्यापक प्रचारप्रसार गर्नु अपरिहार्य रहेकोमा बरालले जोड दिए ।

मौलाकालिका मन्दिर

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट नगरपालिकामा पर्ने नारायणी नदीको पुलबाट करिब चार किलोमिटर उत्तरतर्पm समुद्री सतहबाट ५६१ मिटर उचाइ पहाडी वनको धुरीमा अवस्थित सुप्रसिद्ध तीर्थस्थल एवम् शक्तिप्रबल मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ ।

१५औं शताब्दीको अन्त्य तथा १६औं शताब्दीको सुरुतिर करिब ५०० वर्ष पहिला, पाल्पाका राजा मणिमुकुन्दसेनको राज्यकालमा तत्कालीन सैनिक टुकुडीले आफ्नो गढी (ब्यारेक) मा मौलो गाडी कालिका भगवतीको शिला स्थापना गरेर पूजाअर्चना गर्दै आएको भन्ने किंबदन्ती रहेको धार्मिक सेवा समिति मौलाकालिका अध्यक्ष शालिकराम सापकोटाले बताए ।

विसं २०३२ मा बनेको मन्दिरले क्रमशः व्यापकता र प्रसिद्धी पाउन थालेको उनको भनाइ छ । विसं २०३७ देखि धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैँडाकोट औपचारिक नामकरण गरी एक समिति स्थापना भएको सापकोटाले बताए ।

मन्दिर समितिको सक्रियता, जनसहयोग, सेना र मध्य क्षेत्र प्रहरी तालिम केन्द्र, भरतपुरको सहयोगमा तीनतले प्यागोडा शैलीमा हालको मन्दिर तयार भएको हो । मन्दिरमा जाने मार्गको निर्माण गरिएको छ,भने मौलाकालिका फेदीबाट मन्दिरसम्म पुग्ने गरी छपनी ढुङ्गाबाट सिँढी मार्ग (ट्रयाक रोड) निर्माण गरिएको छ। यस यात्राले धार्मिक पयर्टकलाई आनन्दित तुल्याउने उनको भनाइ छ ।

कैलाश सन्यास आश्रम

नवलपुरमा रहेका धार्मिक पर्यटकीय स्थलमध्ये कैलाश सन्यास आश्रम ऐतिहासिक ठाउँ भएको नगर उपप्रमुख शान्ति कोइरालाले बताइन् । गैँडाकोट नगरपालिकामा अवस्थित कैलाश सन्यास आश्रम पूर्व–पश्चिम राजमार्गको बेल्डिहा चोकबाट दक्षिण मनोरम नारायणी नदीको तट तथा विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको सम्मुखमा सिख्रौली ग्राममा अवस्थित छ ।

पौराणिक कथनअनुसार भगवान् विष्णुले त्रिवेणीधामका गजराजलाई गोहीबाट मुक्त गराउन हतारमा वेगका साथ आउँदा विष्णुको शिरको मुकुट यस स्थानमा गिरेकाले यस स्थानको नाम शिरमौली रहन गएको र कालान्तरमा अपभ्रंस हुँदै जाँदा सिख्रौली भएको आफूहरुले सुन्दै आएको कोइरालाले बताइन् ।

सिरमौली ग्रामको विषयमा हिन्दू धार्मिक ग्रन्थ हरिवंश पुराणमासमेत व्याख्या गरिएको पाइन्छ । धर्मानुरागीहरूको कथन अनुसार यहाँ कुँदिएका प्रस्तर मूर्ति द्वापर युगका हुन् । पाँच पाण्डव वनवास जाँदा यस स्थानमा बास बसेको र यहाँका पाँच जनाले समेत उचाल्न नसक्ने ढुङ्गा भीमसेनले कुँदेर बोकेका हुन् भन्ने ऐतिहासिक कथन छ । इतिहासविद्हरूको कथनअनुसार पाल्पाली राजामणि मुकुन्दसेनको दरबार यसै स्थानमा थियो । यी ढुङ्गा तिनै राजाको दरबार निर्माणमा प्रयोग भएका हुन् र भग्नावेशष भवनसमेत राजाको दरबार भएको भन्ने गरिन्छ ।

अहिले यहाँ पुरातत्व विभागले भग्नावशेषको उत्खनन कार्य सम्पन्न गरी मन्दिर निर्माणकार्य सम्पन्न गरेको छ । यहाँ धार्मिक पर्यटक भित्र्याउन सके यसले नगरकै पहिचान बनाउनेछ । पुरातत्व विभागको प्रारम्भिक अध्ययनबाट पनि यहाँ भेटिएको मन्दिरको भग्नावशेष १३ औँ शताब्दीको हो । यहाँ भेटिएको भग्नावशेषलाई उत्खनन गरेर पुनर्निर्माण गरिएको मन्दिरको आकार सुर्खेतको काँक्रे बिहारसँग मिल्दोजुल्दो रहेर बनेको पुरातत्व विभागले जनाएको छ । उत्खननका क्रममा यहाँ भेटिएका विभिन्न पुरातात्विक वस्तुहरु विभागले अध्ययन गरिरहेको छ ।

मुकुन्दसेन दरबार

गैँडाकोट नगरपालिकाको वडा नं ११ र ३ को सिमानामा पर्ने उत्तरतर्फको अग्लो डाँडामा पाल्पाली राजा मणि मुकुन्दसेनले स्थापना गरेको दरबार रहेको छ । यहाँ अहिले मन्दिर निर्माण गरिएको छ भने मूर्ति भग्नावशेषका रुपमा रहेका गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए । मणि मुकुन्दसेन दरवारबाट देखिने तराईकासम्म फाँटको दृश्यले यहाँ आइपुग्ने जो कोहीलाई लोभ्याउने गरेको तिवारीको भनाइ छ ।

यो क्षेत्रको महत्वपूर्ण पदमार्गमध्ये मुकुन्दसेन पदमार्ग पनि हो । विसं २०७६ जेठ १९ गतेदेखि मौलाकालिका मुकुन्दसेन दरबार भग्नावषेश परिसर पर्यटकीय पदमार्ग खुला गरिएको तिवारीले जानकारी दिए । मौलाकालिका मन्दिरबाट पश्चिमतिर डाँडाको शिरैशिर १३.५ किलोमिटरको दूरीमा उक्त दरबारको भग्नावशेष परिसर रहेको छ ।

पाल्पाली राजा मणि मुकुन्दसेन देवघाट तीर्थ आउने क्रममा बास बस्न र सैनिक सुरक्षाका खातिर उक्त दरबार बनाएको कुरा सुन्नमा आएको तिवारीको भनाइ छ । यहाँसम्म पुग्नका लागि सहज गाडीको व्यवस्था समेत रहेको छ । डाँडोको टुप्पोमा अवस्थित मुकुन्दसेन मन्दिर धार्मिक महत्वका साथै पैदल यात्राका दृष्टिले पनि त्यत्तिकै सुन्दर गन्तव्य हुनसक्ने उनले बताए । यस ठाउँमा सालको वन र चराको चिरबिरे आवाजको आनन्द लिन सकिने तिवारीको भनाइ छ । यो क्षेत्रको अर्को महत्वपूर्ण आकर्षण वनविहार हुन सक्ने तिवारीले बताए ।

लक्ष्मी नृसिंह दिव्यधाम

लक्ष्मी नृसिंह दिव्यधाम गैँडाकोट–१ गंगानगरमा अवस्थित एक महत्वपूर्ण धार्मिकस्थल हो । यहाँ निर्माण गरिएको मन्दिर दक्षिण भारतीय शिल्पकलामा आधारित रहेको छ । स्वामी सन्तनारायणीजीले २०३८ सालमा जमिन खरिद गरी २०४० सालमा मन्दिर, धर्मशाला र त्यसको प्राङ्गण विस्तार गरेका हुन् । नृसिंह भगवानको कृपा सम्पूर्ण भक्तमा हुने विश्वास यहाँका बासिन्दामा छ ।

यो स्थानमा व्यवस्थित रुपमा मन्दिर बनाउने, मन्दिर वरपर, धर्मशाला, अतिथि गृहलगायत निर्माण गर्ने स्वामीजीको सोच र दाताहरूको दान तथा त्यस कार्यमा स्थानीय व्यक्तिको सहयोग समेतका कारण मन्दिर निर्माण गरिएको हो । अहिले मन्दिर, धर्मशाला, अतिथि निवास र काम गर्नेहरूका लागि आवास समेत तयार भइसकेको छ । भगवानका मूर्तिहरूको प्रतिष्ठा, पाश्र्ववर्ति विभूतिहरूको मूर्ति स्थापना समेत कलात्मक ढङ्गले गरिएको छ । मन्दिर र त्यसको परिसर अति मनमोहक देखिन्छ । यहाँ भजनकीर्तन तथा धार्मिक पर्वहरूमा श्रद्धालुहरूको घुइँचो लाग्दछ।

शिखर खजुराव शैलीको हनुमान मन्दिर

गैँडाकोटमा रहेको हनुमान मन्दिर धार्मिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीमा अवस्थित नेपालकै ठूलो ‘शिखर खजुराव’ शैलीको हनुमान मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सो मन्दिरमा नेपालका विभिन्न जिल्ला तथा भारतबाट तीर्थयात्रीहरु आउने गरेका छन् । शिखर खजुराव शैलीमा निर्माण गरिएको नेपालकै ठूलो हनुमान मन्दिर तथा राजमार्गसँगै जोडिएको कारण पनि यो बाटो भएर हिँड्ने पर्यटकहरु यहाँ पस्ने गरेका छन् ।

श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम

गैँडाकोट–७ गैरीमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम आन्तरिक पर्यटनको महत्वपूर्ण धार्मिक क्षेत्र बन्दै आएको छ । श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिसरमा नेपालको पहिलो कलात्मक ३२ फुट अग्लो महाशिवलिङ्ग एवं नर्मदेश्वर नदीबाट ल्याइएका एक सय आठ शिवलिङ्ग, गणेश मन्दिर, दुर्गा मन्दिर, नागको थानलगायत रहेका छन् ।

विसं २०४४ मा स्थापना भएको यो मन्दिर यस क्षेत्रकै कलात्मक र भव्य मन्दिर हो । श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गुरुकल परम्पराअनुसार पूजा आराधना भइरहकेको छ । ब्रह्मलीन १००८ स्वामी परमानन्दजी महाराज गुरुबाट शिलान्यास गरी यहाँ पूजाअर्चना सुरु गरिएको थियो ।

श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिसरमा नेपालको पहिलो कलात्मक ३२ फुट अग्लो महाशिवलिङ्ग एवं नर्मदेश्वर नदीबाट ल्याइएका एक सय आठ शिवलिङ्ग रहेका कारण साउन महिनामा भक्तजनको चाप हुने गर्छ । प्रत्येक शुक्रबार बिहान ११ बजेदेखि सत्सङ्ग पनि हुने गरेको छ । विसं २०४४ मा सामाजिक, धार्मिक व्यक्तिहरुले टाप्रेघारी भएको स्थानमा जमिन संरक्षणका लागि भेला गरी मन्दिर निर्माण गर्ने समिति गठन गरेर मन्दिर निर्माण गरिएको हो । मन्दिरमा विवाह, व्रतबन्ध, विभिन्न अवसरमा पूजा आराधना पनि हुने गरेको छ ।
गैँडाकोटको सम्भावना

गैँडाकोटको सीमाना हुँदै बग्ने नारायणी नदी एवम् कालीगण्डकी नदीका कारण यहाँ जलयात्रा तथा नदी किनारमा मनोरञ्जन स्थल निर्माणको उच्च सम्भावना बोकेको नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए । प्रसिद्ध तीर्थस्थल देवघाटलाई नारायणी नदीमा साना जहाज र मोटरबोट जलयात्राले जोड्ने सम्भावना रहेको उनको भनाइ छ । गैँडाकोट नगरपालिकाको नारायणी तटमा ‘रिभर बीच’ प्रवद्र्धन गर्न सकिने अवस्था रहेको उनको भनाइ छ ।

सहरी जीवनशैलीबाट विश्राम गर्नका लागि वनभित्रकै मार्गहरूको प्रयोग गर्दै ढोडेनी, केलादी, हर्दी (वनको उत्तरतर्फ रहेका सुन्दर गाउँहरू) का साथै देवघाट (कालीगण्डकी, सेती र नारायणीको संगम स्थल) सम्म पुग्न सकिने अवस्था रहेको भट्टचनले बताए । गैँडाकोटमा रहेको मौलाकालिका मन्दिर, मणिमुकुन्दसेन दरबार, कैलाश सन्यास आश्रमलाई जोडेर मुख्य पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने उनको भनाइ छ ।

नेपालको मध्यतराई भागमा पर्ने यस नगरको बीचबाट पूर्व–पश्चिम राजमार्ग वारपार हुने, नारायणगढ, देवघाट नजिकमा पर्ने, अत्यधिक मानिसहरूको यात्रा हुने स्थल भएकाले व्यापार, व्यवसाय, उद्योग धन्दाको प्रचुर सम्भावना रहेको छ । गैँडाकोट धार्मिक रूपमा आदिकालदेखि नै चर्चामा रहेको भन्दै अब यस स्थानलाई पर्यटनसँग जोडेर अगाडि बढ्न निजी क्षेत्र तयार रहेको भट्टचनको भनाइ छ । गैँडाकोटमा बन्न लागेका विकासका पूर्वाधारहरुले निःस्वार्थ गति लिने हो भने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने सम्भावना त्यत्तिकै रहेको छ ।

–टेकराज पोखरेल

भागेका कैदीबन्दीलाई फर्किन तीन दिनको समय, आश्रय दिनेलाई पनि कारवाही

नवलपरासी । भागेका कैदीबैन्दीलाई आश्रय नदिन कारागार कार्यायल नवलपरासीले अनुरोध गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए ।

उनीहरुमध्ये केही कैदीबन्दी कारागारामा फिर्ता (हाजिर) भइसकेका छन् । भागेका कैदीबन्दीलाई कसैले पनि आफ्नो घरमा लुकाउन छिपाउन तथा आश्रय नदिन भन्दै कसैले आश्रय दिएको वा लुकाए थाह पाएपछि उनीहरुलाईसमेत कसुरदार ठानी कारबाहीको प्रक्रिया अगाडि बढाइने कारागार कार्यालयका जेलर विकल श्रेष्ठले बताए ।

हाजिर नभएका कैदीबन्दीको हकमा कारागार कार्यायलले यही असोज २० गतेसम्म हाजिर हुनलाई अनुरोध गरेको श्रेष्ठले बताए । उनले भने, ‘असोज २० गतेसम्म हाजिर नहुने कैदीबन्दीलाई कारागार ऐन, २०७९ र प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।’ नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये पुरुष २१९ र महिला ३२ जना गरी सम्म २५१ जना हाजिर भइसकेको उनले जानकारी दिए ।

मनाङ–लमजुङ सडकमा राति गाडी चलाउन रोक

मनाङ । मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज २० गतेसम्म ठूलो वर्षा हुने सूचना जारी भएको छ । मौसम विज्ञान विभागले वर्षा हुने सूचना जारी गरेसँगै मनाङ–लमजुङ सडकमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

ठूलो वर्षा भएमा जोखिम बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सम्भावित बाढीपहिरो र भू–स्खलनको जोखिमलाई मध्यनजर गर्दै यातायात व्यवस्थापनमा कडाइ गरिएको जनाएको छ ।

निश्चित समयमा मात्र सवारीसाधन सञ्चालन गर्न पाइने र तोकिएको समय बाहिर आवागमन गर्न रोक लगाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालद्वारा जारी सूचनामा उल्लेख छ । बेलुका ६ः३० देखि बिहान ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रजिअ पौड्यालले बताए । प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय तहका उद्धार टोलीलाई सतर्क अवस्थामा राखिएको तथा तत्काल परिचालन गर्ने गरी आवश्यक व्यवस्था मिलाउन जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरिएको छ ।

‘सम्भावित विपद् व्यवस्थापनका लागि सबै स्थानीय तह र स्थानीय विपद् व्यवस्थापन समिति, सरकारी निकाय, निजी क्षेत्र र गैरसरकारी संस्थाले स्वीकृत मनसुनकार्य योजनाअनुरुप आवश्यक पूर्व तयारी र प्रतिकार्यका लागि आ–आफ्नो विषयमा क्षेत्रगत तयारीमा रहन प्रशासनले अनुरोध गरेको छ’, प्रजिअ पौड्यालले भने ।

सम्भावित वर्षाको कारणले भू–क्षय, बाढीपहिरोको जोखिम रहेकाले मस्र्याङ्दी, नारखोला, दूधखोला, डोनाखोला तथा ठाडाखोलालगायत स्थानीय खोलामा पानीको सतह बढ्ने, बाढीपहिरो गई आसपासका क्षेत्रमा जोखिम हुनसक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न, बेंँसीसहर–चामे–खाङ्सार सडकलगायत स्थानीय ग्रामीण सडकमा सवारीसाधन चलाउँदा आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन ट्राफिक प्रहरी र सुरक्षा निकायको निर्देशनको पालना गर्न सर्वसाधारणसहित सबै सरोकारवाला निकायमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिए ।

भत्किन थाल्यो आगजनीमा परेको नक्सालको भाटभटेनी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको काठमाडौँको नक्सालस्थित व्यापारिक भवन भाटभटेनी भत्किन थालेको छ ।आगलागीले ध्वस्त भवन भत्किएर जोखिम बढ्न थालेपछि आज बिहानैदेखि भग्नावशेष हटाउन थालिएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका भाटभटेनी भवनमा पनि तोडफोड र आगजनी गरिएका थिए । आगजनीबाट भाटभटेनीको ठूलो क्षति भएको छ ।

विश्वकप छनोटका लागि सन्दीपसहित नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी मेन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ ।

रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । युएईमा भएको वेष्ट इण्डिजसँगको तीन खेलको टी–२० सिरिजमा अनुशासनको कारवाही भोगेका सन्दीप लामिछानेलाई समेट्दै टोली घोषणा भएको हो । टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट ल ले यसअघि वेष्ट इण्डिजसँगको सिरिजमा रहेका साहब आलमलाई बाहिर राख्दै १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् ।

छनोटका लागि नेपाली टोली ओमान पुगिसकेको छ। विश्वकप छनोट अक्टोबर ८ देखि सुरु हुनेछ । टोलीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

 

काठमाडौं प्रशासनले भन्यो–रातको समय काठमाडौं आवातजावत नगर्नू

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले अनावश्यक रूपमा यात्रा नगर्न र विपद् अवस्थामा प्रहरी सम्पर्क गर्न सुझाएका छन्। जिल्ला प्रशासनले सबैलाई असोज २० गतेसम्म आ–आफ्नो स्थानमा रही सतर्कता अपनाउन र लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ ।

‘काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ’ सूचनामा उल्लेख छ। विपद्को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न भनिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचनाअनुसार आजदेखि यही असोज २० गते सम्म काठमाडौंमा भारी वर्षा हुने सम्भावना छ ।

वर्षाबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भू–क्षय जस्ता विपतजन्य घटनाहरू घट्न सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले रातको समयमा काठमाडौं आवातजावत नगर्न भनेको हो । असोज २० गतेसम्म आ–आफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउन भनिएको छ । अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न अनुरोध गरिएको छ ।