`

के ‘उज्यालो नेपाल पार्टी’ सँग छलफलमा छन् मन्त्री घिसिङ ?

काठमाडौं । नव गठित राजनीतिक दल उज्यालो नेपाल पार्टी (उनेपा) ले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङसँग भर्चुअल छलफल हुन लागेको दाबी गरेको छ । तर मन्त्री घिसिङले आफू सो पार्टीसँग कुनै संवादमा नरहेको प्रष्ट पार्दै प्रचार सामग्रीप्रति असहमति जनाएका छन् ।

उनेपाका अध्यक्ष ज्ञानेन्द्रकुमार तामाङका अनुसार पार्टी विस्तार र अवधारणालाई स्पष्ट पार्न विभिन्न विज्ञ तथा सरोकारवालाहरूसँग संवाद जारी छ । सोही क्रममा शनिबार साँझ ७ देखि ९ बजेसम्म मन्त्री घिसिङसहितको जुम मिटिङ तय भएको बताइएको छ । उक्त छलफलमा पार्टीको घोषणापत्रको मस्यौदा, नीति तथा कार्यक्रमबारे सुझाव लिने भनिएको छ ।

तर मन्त्री कुलमान घिसिङले भने स्पष्ट रूपमा यस्तो कुनै छलफलमा संलग्न नहुने बताएका छन् । उनले उज्यालो नेपाल पार्टीसँग कुनै औपचारिक वा अनौपचारिक संवाद नरहेको प्रतिक्रिया दिएका छन् ।

यस्तो छ उनेपाको संरचना
निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको उनेपाको नेतृत्व यस प्रकार छ :

राष्ट्रिय अध्यक्ष– ज्ञानेन्द्रकुमार तामाङ
उपाध्यक्षहरू–नारायणप्रसाद पाण्डे, रमेशप्रसाद थपलिया, सागर पाण्डेय ।
महासचिव–प्रशान्त केसी तिमल्सिना ।
उपमहासचिव–भुवन नारायण तामाङ ।
कोषाध्यक्ष– विमला तामाङ ।

सचिवहरू– पुनम तामाङ, सविना बुढाथोकी, विमला स्याङतान, कान्छाकाजी तामाङ, सचिन्द्रकुमार तामाङ ।

अध्यक्ष तामाङका अनुसार दल गठनको अभियानलाई देश तथा विदेशमा रहेका विज्ञहरूबाट सुझाव लिँदै अगाडि बढाइँदैछ । तर मन्त्री घिसिङको अस्वीकारसँगै उनेपाले सार्वजनिक गरेको भर्चुअल छलफलसम्बन्धी दाबी विवादास्पद बन्दै गएको छ । अब वास्तविकता के हो भन्ने प्रष्ट हुन बाँकी छ ।

युक्रेनलाई लामो दूरीको मिसाइल नदिन अमेरिकालाई पुटिनको चेतावनी

मस्को ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र आपूर्ति गर्ने सम्भावनाबारे कडा चेतावनी दिएका छन् । उनले यस्तो कदमले मस्को–वासिङ्टन सम्बन्धमा गम्भीर क्षति पुर्‍याउने भए पनि युद्धको मैदानमा ठूलो परिवर्तन ल्याउन नसक्ने स्पष्ट पारे ।
कृष्ण सागरको रिसोर्ट सोचीमा आयोजित अन्तर्राष्ट्रिय विदेश नीति विज्ञहरूको फोरमलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले अमेरिकी ‘टोमहाक क्रुज मिसाइल’ युक्रेनमा पुर्‍याइएमा त्यसले रूस–अमेरिका सम्बन्धलाई गुणात्मक रूपमा नयाँ चरणमा धकेल्ने बताए । तर उनले रूसी सेनाले आफ्नो हवाई सुरक्षा प्रणालीलाई छिट्टै नयाँ खतरासँग अनुकूलन गर्ने दाबी गरे ।
‘यस्ता मिसाइलहरूले केही क्षति पुर्‍याउन सक्छन्, तर युद्धको मैदानमा बलको सन्तुलनलाई भने परिवर्तन गर्ने छैन’, पुटिनले भने । उनले रूसी सेना अहिले पनि सुस्त तर निरन्तर प्रगतिमा रहेको उल्लेख गर्दै युद्धमा आफ्नो पक्ष बलियो भइरहेको दाबी गरे ।
‘हामी नाटो ब्लकसँग लडिरहेका छौं’
साढे तीन वर्षभन्दा लामो युद्धपछि पनि सानो छिमेकी युक्रेनलाई पराजित गर्न नसकेको भन्दै रूसलाई कतिपय पश्चिमी विश्लेषकहरूले ‘कागजी बाघ’ भनेर व्यङ्ग्य गरेको प्रसङ्गमा पुटिनले प्रतिवाद गर्दै भने, ‘हामी केवल युक्रेनसँग मात्र होइन, सम्पूर्ण नाटो गठबन्धनसँग लडिरहेका छौँ । आत्मविश्वासका साथ हामी अघि बढिरहेका छौँ । यदि कोही भन्छन् रूस ‘कागजी बाघ’ हो भने, त्यसो भए गएर आफैले त्यस ‘कागजी बाघ’ सँग व्यवहार गरेर देखाउनुस् ।’
यसैबीच, नाम नखुलाउने सर्तमा बोल्ने एक ह्वाइट हाउस अधिकारीले पुटिनले आफ्नै हितका लागि अनुकूल शान्ति सम्झौता प्रस्तावलाई बारम्बार अस्वीकार गरेका कारण रूस आर्थिक र कूटनीतिक रूपमा क्षतिग्रस्त भएको टिप्पणी गरे ।
ट्रम्पसँगको शिखर बैठकको प्रशंसा
राष्ट्रपति पुटिनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत अगस्टमा अलास्कामा सम्पन्न शिखर सम्मेलनलाई फलदायी भन्दै विशेष प्रशंसा गरे। उनले ट्रम्पसँग संवाद गर्न सहज महसुस भएको भन्दै युक्रेनी संकट समाधानका सम्भावित उपायबारे चर्चा गर्न पाउनु सकारात्मक भएको टिप्पणी गरे ।
यस्तै उनले सन् २०१० को न्यु–स्टार्ट सन्धि फेब्रुअरीमा समाप्त हुने भएपछि त्यसलाई अझ एक वर्षका लागि विस्तार गर्ने आफ्नो प्रस्तावलाई पुनः दोहोर्‍याए । उक्त सन्धिले अमेरिका र रूस दुवैलाई एक हजार ५५० भन्दा बढी तैनाथ आणविक हतियार तथा ७०० तैनाथ मिसाइल र बमवर्षकमा सीमित गरेको छ । ‘यदि अमेरिकालाई यो आवश्यक छैन भने हामीलाई पनि आवश्यक छैन’, पुटिनले भने, ‘तर हामी हाम्रो आणविक क्षमताप्रति पूर्ण रूपमा आत्मविश्वासी छौँ ।’
तेल ट्याङ्कर, ‘समुद्री डकैती’ र फ्रान्समाथि कटाक्ष
युक्रेनलाई सहयोग गर्ने पश्चिमी मुलुकहरूले रूसी तेल बोक्ने ट्याङ्करहरू नियन्त्रण गर्ने प्रयासलाई राष्ट्रपति पुटिनले ‘समुद्री डकैती’ को संज्ञा दिए। यस्तो कदमले विश्व तेल बजारलाई अस्थिर पार्ने मात्र नभई बलियो प्रतिक्रिया प्राप्त गर्ने चेतावनी पनि दिए ।
फ्रान्सको एटलान्टिक तटमा एक तेल ट्याङ्कर रोकिएको घटनाबारे प्रश्न सोधिँदा उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई लक्षित गर्दै भने, ‘म्याक्रोनले आफ्ना आन्तरिक समस्याबाट ध्यान मोड्न यस्ता नाटक गर्नुभएको हो ।’ उहाँले व्यङ्ग्य गर्दै म्याक्रोनलाई ‘नेपोलियन’ सँग तुलना गरे।
डेनमार्क ड्रोन घटना र नेटो आरोपको उपहास
हालै डेनमार्कको आकाशमा देखिएको अज्ञात ड्रोन तथा युरोपका अन्य मुलुकहरूले लगाएको आरोपलाई पुटिनले ‘नाटोले रक्षा खर्च बढाउन र तनाव चर्काउन गरेको प्रयास’ भन्दै खारेज गरे ।
गत महिना मात्र पोल्यान्डमा रूसी ड्रोनको झुण्ड देखिएको, एस्टोनियामा रूसी लडाकू विमानले सीमा उल्लङ्घन गरेको र डेनमार्क–जर्मनीसहितका देशमा अज्ञात ड्रोनहरू देखिएको खबर बाहिरिएका थिए । पश्चिमी अधिकारीहरूले यसलाई रूसले नाटोको प्रतिक्रिया परीक्षण गर्ने रणनीति भएको दाबी गरेका थिए ।
तर पुटिनले यस्तो दाबीलाई ‘मूर्खतापूर्ण’ भन्दै अस्वीकार गर्दै भने, ‘हामी युरोपको सैन्यीकरणलाई ध्यानपूर्वक हेरिरहेका छौँ । यदि आवश्यक भयो भने रूसको प्रतिक्रियात्मक कदम आउन ढिलो लाग्ने छैन ।’
चार्ली किर्कको हत्या र पुटिनको प्रतिक्रिया
अमेरिकी राजनीतिक कार्यकर्ता चार्ली किर्कको हत्याबारे प्रश्न उठ्दा पुटिनले यसलाई ‘जघन्य अपराध’ भन्दै अमेरिकाको समाजभित्र रहेको गहिरो विभाजनको प्रतिबिम्ब बताए । उनले किर्कलाई परम्परागत मूल्यहरूको पक्षमा लड्ने नायकका रूपमा चित्रण गर्दै प्रशंसा गरे ।
उनले सन् २०२४ मा युक्रेनमा युद्धरत अवस्थामा मारिएका सिआइएका पूर्व उपप्रमुखका छोरा माइकल ग्लोसको पनि स्मरण गरे । उनले ग्लोसलाई पदक प्रदान गरिएको जानकारी दिँदै उक्त पदक राष्ट्रपति ट्रम्पका दूत स्टिभ विटकफमार्फत परिवारलाई हस्तान्तरण गरिएको बताए।
‘ग्लोसले रूसका सैनिकका रूपमा परम्परागत मूल्यहरूको रक्षा गर्दै जीवन अर्पण गरे र किर्कले अमेरिकाभित्रै उस्तै मूल्यहरूको लागि लड्दै ज्यान गुमाए । उनीहरू समान उद्देश्यका नायक हुन्’, पुटिनले भने । यस विषयमा सिआइएले विज्ञप्ति जारी गर्दै माइकलको निधनलाई निजी पारिवारिक विषयका रूपमा सम्मान गरिएको र यसलाई राष्ट्रिय सुरक्षा मुद्दा नबनाउने जनाएको छ ।
पुटिनको व्यङ्ग्यात्मक ठट्टा
चार घण्टा लामो प्रत्यक्ष कार्यक्रमका क्रममा पुटिनले अतीतमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस तथा उनका प्रशासनिक अधिकारीहरूसँगको भेट स्मरण गर्दै आफैलाई हाँसोको शैलीमा ‘सिआइए निर्देशक’ भनेर सम्बोधन गरे । रासस /एपी

मोरक्कोमा चर्किदै जेन्जी आन्दोलन, राजीनामा दिन प्रधानमन्त्रीको अटेर

मोरक्को । पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको नेतृत्वमा भइरहेको सरकारविरोधी आन्दोलन लगातार बढ्दै गएको छ ।  अघिल्लो रात सुरक्षाकर्मीहरूले गोली चलाउँदा तीन जनाको मृत्यु भएपछि थप हिंसाको डर भए पनि बिहीबार साँझ देशका कम्तीमा एक दर्जन सहरमा विरोध प्रदर्शन निरन्तर जारी रह्यो ।
प्रदर्शनकारीहरूले विशेषगरी उच्चस्तरीय विद्यालय र गुणस्तरीय अस्पतालहरूको माग अघि सारेका छन् । धेरैले प्रधानमन्त्री अजिज अखान्नोचलाई राजीनामा दिन आह्वान गरेका छन् । राजधानी रबातदेखि व्यापारिक सहर कासाब्लान्कासम्म ठूलो संख्यामा युवाहरू सडकमा उत्रिएका छन् ।
आन्दोलनको माग र नाराहरू
प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि केही ठाउँमा हिंसात्मक घटनामा परिणत भएका छन् । बुधबार मात्रै, बैंकहरू लुटिएका, कारहरू जलाइएका र सार्वजनिक सम्पत्ति नष्ट गरिएका थिए । त्यस क्रममा प्रहरीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको थियो ।
मोरक्कोमा राजा मोहम्मद छैटौँ सर्वोच्च शासक भए पनि प्रदर्शनकारीहरूको असन्तोष प्रायः सरकारतर्फ नै केन्द्रित हुँदै आएको छ । बिहीबारको प्रदर्शनमा सहभागी सयौँ युवाले ‘जनताले अखान्नोचलाई हटाउन चाहन्छन्’ र ‘सरकारलाई हटाऊ’ भन्ने नारा लगाउँदै राजालाई हस्तक्षेप गर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्रीको प्रतिक्रिया 
प्रधानमन्त्री अजिज अखान्नोचले पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै मृतकहरूको निधनमा शोक व्यक्त गरे । उनले सुरक्षाकर्मीहरूले कानून र व्यवस्था कायम गर्न गरेको प्रयासको प्रशंसा गर्दै सरकार संवादमार्फत समाधान खोज्न इच्छुक रहेको संकेत गरे । ‘संवादमै आधारित दृष्टिकोण नै हाम्रो देशले सामना गर्ने समस्याहरूलाई समाधान गर्ने एक मात्र सही बाटो हो’, अखान्नोचले भने ।
हिंसा र क्षतिको विवरण
गृह मन्त्रालयका अनुसार तटीय सहर अगादिर नजिकैको लेक्लिया भन्ने सानो सहरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भीषण झडप हुँदा तीन युवाको मृत्यु भयो । मन्त्रालयले उनीहरू प्रहरी हतियार खोस्ने प्रयासमा मारिएको दाबी गरेको छ, तर प्रत्यक्षदर्शीहरूले यसलाई पुष्टि गर्न सकेका छैनन् ।
उक्त भिडन्तमा ३५४ जना घाइते भएको बताइएको छ, जसमा अधिकांश सुरक्षाकर्मी रहेको मन्त्रालयको दाबी छ । तेइस वटा प्रान्तमा सयौँ कार, बैंक, पसल र सार्वजनिक भवन क्षतिग्रस्त भएका छन् । मन्त्रालयले देशभर करिब ७० प्रतिशत प्रदर्शनकारीहरू नाबालिग रहेको अनुमान गरेको छ ।
‘जेन जेड २१२’ आन्दोलन 
कथित जनरेशन जेड २१२ नामक नेतृत्वविहीन आन्दोलनले यी प्रदर्शनहरू आयोजना गरेको हो । इन्टरनेट र सामाजिक सञ्जालको सक्रिय प्रयोग गर्ने युवाहरूको यो समूह हालसम्म मोरक्कोमा देखिएको सबैभन्दा ठूलो युवा आन्दोलन बनेको छ ।
प्रदर्शनकारीहरूले दैनिक जनताका लागि आवश्यक स्वास्थ्य र शिक्षा सेवामा भएको कमीलाई भ्रष्टाचारसँग जोड्दै आलोचना गरेका छन् । उनीहरूले सन् २०३० को विश्वकप आयोजनाका लागि अर्बौं डलर खर्च भइरहे पनि विद्यालय र अस्पतालहरू अभावग्रस्त अवस्थामा रहेको आरोप लगाएका छन् ।
‘स्वास्थ्य सेवा पहिले, हामीलाई विश्वकप चाहिँदैन’ भन्ने नारा सडकमा सबैभन्दा लोकप्रिय बनेको छ । अर्को चर्चित नारा थियो – ‘स्टेडियमहरू तयार छन्, तर अस्पतालहरू कहाँ छन ?’  हालै अगादिरको एक सार्वजनिक अस्पतालमा आठ महिलाको मृत्यु भएको घटनाले स्वास्थ्य प्रणालीप्रति असन्तोष झन् बढाएको छ ।
व्यापक असमानताप्रति आक्रोश
मोरक्को द्रुत विकासतर्फ अघि बढिरहेको भए पनि समाजमा गहिरो असमानता रहेको तथ्य प्रदर्शनहरूले उजागर गरेका छन् । ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्य सुविधाको अवस्था निकै कमजोर छ, रोजगारीको अवसर न्यून छ र यही कारण युवाहरू आक्रोशित भएका छन् ।
जनरेशन जेड २१२ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य, शिक्षा र सम्मानजनक जीवनको अधिकार केवल नारा होइन, यो गम्भीर माग हो ।’
गिरफ्तारी र झडप
देशभर एक हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । मानव अधिकार संस्थाहरूका अनुसार, पक्राउ परेकामध्ये धेरैजना नाबालिग छन् । केहीलाई सादा पोशाकमा आएका सुरक्षाकर्मीहरूले प्रत्यक्ष टेलिभिजन अन्तर्वार्ताका क्रममा समेत नियन्त्रणमा लिएको देखिएको छ । प्रदर्शनका आयोजकहरूले बारम्बार आन्दोलनलाई शान्तिपूर्ण राख्न आग्रह गरे पनि कतिपय सहरमा स्थिति नियन्त्रण बाहिर गएको छ ।
डिस्कोर्डमार्फत जारी एक सन्देशमा आयोजकहरूले ‘दमनकारी सुरक्षा दृष्टिकोण’ को निन्दा गर्दै प्रदर्शनकारीलाई संयमित रहन अपिल गरेका थिए । तर विभिन्न सहरका प्रत्यक्षदर्शीहरूले दिएको विवरणअनुसार, धेरै स्थानमा प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरे, गाडीमा आगो लगाए र सरकारी भवनहरूमा तोडफोड गरे ।
अन्तर्राष्ट्रिय तुलना
विशेषज्ञहरूले मोरक्कोको यो आन्दोलनलाई नेपाल, केन्या र मेडागास्कर जस्ता मुलुकहरूमा हालै देखिएका युवानिर्देशित आन्दोलनसँग तुलना गरेका छन् । यी सबै आन्दोलनहरूको केन्द्रमा भ्रष्टाचारविरुद्धको असन्तोष, असमानता र आधारभूत सेवाप्रतिको माग रहेको देखिन्छ । रासस / एपी

‘जडीबुटीको मूल्य पाइएन’

भोजपुर । भोजपुरका कृषकले उत्पादित जडीबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन् । पकेट क्षेत्रमा विभिन्न जातका बहुमूल्य जडीबुटी उत्पादन भए पनि बजार मूल्य नपाएको किसानको गुनासो छ ।

स्थानीयस्तरमा जडीबुटीको बजार मूल्यबारे ज्ञान नहुने र सरकारले समेत मूल्य नतोक्ने हुँदा विचौलियाले त्यसको लाभ लिइरहेको अधिकांशको भनाइ छ । स्थानीय जडीबुटी कृषक निमा शेर्पाले चिराइतो, सतुवा, अलैँचीलगायतको व्यावसायिक खेती गरिए पनि मूल्यका लागि विचौलियाकै भर पर्नुपर्दा घाटा भइरहेको सुनाए ।

जिल्लाको माथिल्लो भेगका किसानले चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बालगायत जडीबुटीको खेती गर्दै आएका छन् । चिराइतोको मूल्य बढेपछि किसान यसतर्फ आकर्षित भएका छन्, तर सरकारले मूल्य नतोक्दा विचौलियाको बोलीका आधारमा बेच्नु परिरहेको कृषक पासाङ शेर्पाको गुनासो छ ।

उनले भने, ‘गाउँमा हल्लाको भरमा मूल्य तोकिने गरेको छ । त्यही मूल्यमा बेच्छौँ, पछि थाहा हुन्छ कि हामीले त घाटामा बेचेका रहेछौँ । यसले मारमा छौँ ।’ यस्तो समस्या समाधानका लागि सरकारी निकायले मूल्य तोकेर बजार बिस्तारका लागि सहजीकरण गरिदिनुपर्ने किसानहरूको माग छ ।

 

बाहिरिनु पर्ने मनसुन झन किन भयो सक्रिय ?

काठमाडौं । नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीवार रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला पुन सक्रिय भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको र बाहिरिन पनि केही समय ढिला हुने बताए ।

मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट उत्पन्न न्युन चापीय प्रणालीका कारण आज अपराह्नदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बदली देखिएको उनले जानकारी दिए । वरिष्ठ मौसमविद् अर्यालले शनिबार र आइतबार बढी वर्षा हुने जानकारी दिँदै सोमबारबाट भने क्रमशः सुधार हँदै जाने बताए ।

‘त्यसपछि पश्चिम वायुको प्रभाव कसरी आउँछ, त्यसले मनसुन बाहिरिने कुराको निर्धारण गर्छ’, उनले भने । यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा बिस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म फेलिएको थियो । असार ६ देखि भने देशभर फैलिएको थियो ।

पर्यटनको केन्द्र बन्दै ‘गणेशपुर पार्क’

दाङ । दाङको तुलसीपुर–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा पर्यटकको आकर्षण बढ्न थालेको छ । त्यहाँ राखिएको शान्तिका अग्रदुत गौतमबुद्धको मूर्ति हेर्न र वन जङ्गलसहितको सुन्दर वातावरणमा रमाउन धेरै जना यहाँ पुग्ने गरेका छन् ।

उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले भने, ‘यो ठाउँ आफैमा सुन्दर छ, सामुदायिक वन दृश्य हेर्न लायक छ । त्यसैमा गौतमबुद्धको मूर्ति निर्माण गरेर शोभा बढाएपछि पर्यटकको आकर्षण पनि बढेको छ ।’

त्यहाँ पानीको फोहोरा, कृतिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका बाघ, बाँदर, उल्लु, खरायोका बच्चा, चित्तललगायत जनवारसँग पनि छन् । त्यसैले पनि पर्यटकलाई रमाउन सहज भएको छ । यहाँ रहेको पोखरीमा डुङ्गाको व्यवस्था छ । तीन वटा डुङ्गामा सयर गर्ने व्यवस्था गरिएको छ ।

पोखरीमा माछा पालन गरिएको छ, जहाँ हाल पाँच हजार माछा रहेका अध्यक्ष भण्डारीले बताए । त्यहाँ रहेको हात्ती, गैँडाको प्रतिमाले पनि उत्तिकै रौनक थपेको उनले बताए । हाल रङ्गौली गार्डेन र पिङ निर्माणको कार्य भइरहेको छ । त्यो निर्माण भएमा अझै आकर्षण बढ्ने अध्यक्ष भण्डारीको विश्वास छ ।

‘हामीले यहाँ घोडा पनि व्यवस्था गरेका छौँ । भित्र विभिन्न प्रजातिका फूलहरू छन् । त्यसले पनि सौन्दर्य थपिरहेको छ । चिल्ड्रेन पार्कमा पनि मानिसहरू उत्तिकै झुमिएका देखिन्छन् । पिङ, स्वीमिङदेखि बच्चाहरूले खेल्ने हरेक सामग्री राखेका छौँ’, उनले भने ।

भण्डारीका अनुसार यहाँ दैनिक चार सयदेखि पाँच सय जनाले अवलोकन गर्छन् । चाडपर्व र बिदाको समयमा भने दैनिक दुई-तीन हजार बढीले अवलोकन गर्ने गरेको उनले सुनाए । यसरी सरदर वार्षिक दुई लाखभन्दा बढी पर्यटकहरुले गणेशपुर पार्कको अवलोकन गर्ने गरेका भण्डारीले बताए ।

यहाँ बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पाबाट समेत अवलोकनका लागि आउने गरेका छन् । विद्यार्थीलाई ५० प्रतिशत छुट र अपाङ्ग, असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । त्योबाहेक अन्यले रु ३० को टिकेट काट्नु पर्छ । त्यो स्थान कुनै समय अतिक्रमणमा परेको थियो । राष्ट्रिय वन क्षेत्र हुँदा मानिसले त्यसलाई अतिक्रमण गरेर घर बनाउन खोजिरहेको थिए, तर स्थानीयले अतिक्रमणलाई रोके र रुख रोपे । रुख हुर्किएपछि जग्गा संरक्षण भयो । पछि त्यो वनलाई श्री गणेश सामुदायिक वन बनाइएको हो ।

विसं २०५९ मा स्थानीय हरि रिजालको नेतृत्वमा यसको काम अगाडि बढेको थियो । पछि इञ्जिनियर वासुदेव रिजालले त्यसलाई रेखाङ्कन गरेपछि त्यहाँ पार्क निर्माणको काम भएको जनाइएको छ । ‘शान्तिको कामनासहित पर्यटकीयस्थल बनाउने परिकल्पनासहित काम अघि बढेको थियो । त्यतिबेला मुलुक जनयुद्ध उत्कर्षमा थियो, जनयुद्धको स्थल पनि साविक राप्ती थियो’, अध्यक्ष भण्डारीले भने, ‘त्यसैले साविक राप्तीबाटै शान्तिको कामना गर्ने र पर्यटक पनि वृद्धि गर्ने उद्देश्यले त्यो पार्क निर्माण गरेका हौँ ।’ रासस

बस दुर्घटना हुँदा दुईको मृत्यु, ४० बढी घाइते

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना ६ ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिए । दुर्घनामा बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका र सबैको बर्दिवासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए ।

सालको पात बेचेर चाडपर्व खर्चको जोहो

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–४ की कृष्णकुमारी विकले सालको पात बिक्री गरी यस वर्षका चाडपर्वका लागि खर्च जुटाइरहेकी छन् । उनले उदयपुरको गाईघाट पुगेर ल्याइएका सालका पात बेचेर खर्च जुटाइरहेकी हुन् । हुन त अरु बेला पनि यो उनका लागि आम्दानीको मुख्य स्रोत हो । हरेक हप्ताजसो गाईघाट गएर पात संकलन गर्ने र इटहरीका विभिन्न स्थानमा लाग्ने हटिया बजारमा बिक्री गर्दै आएको विकले बताइन् ।

उनले भनिन्, ‘अरु बेला पनि यो काम गरिरहेकी छु, तर चाडपर्वलगायत विशेष समयमा बढी बिक्री हुन्छ । अरु समयमा ज्यालामजदुरी कामसमेत गर्छु, तर चाडपर्वको समय आएपछि भदौ महिनादेखि मङ्सिरसम्म यही काम गर्छु । यसबेला पात बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ ।’

धेरैजसो चाडपर्वमा यही पात बेचेरै आफुनो खर्च जुटाउने गरेको बताउँदै विकले एक हप्तामा रु आठ हजारदेखि रु १० हजारसम्मको पात बिक्री हुने गरेको सुनाइन् । सालको पातको माग चाडपर्व, एकादशी, छठपूजालगायत धार्मिक अवसरमा अत्यधिक हुने गर्छ । यसबेला ठेलागाडामा कोला र तरकारी बेच्ने व्यापारीहरूले समेत पात बेच्ने गर्छन् । यसले केही समस्या हुने गरेको पात बचेर खर्च जुटाउनेहरूको गुनासो छ ।

इटहरी उपमहानगरपालिका–७ कि इन्द्रदेवी घिमिरे पनि विगत चार वर्षदेखि सालको पात बेच्दै आएकी छन् । उनले पनि गाईघाटबाट पात संकलन गरेर बिक्री गरिरहेको बताइन् । घिमिरेका अनुसार भदौ, असोज र कात्तिक महिनामा पातको बिक्री उच्च हुने भएकाले यसबाट चाडपर्वको खर्च जोहो हुने गरेको छ ।

‘दसैं–तिहारको समयमा दैनिक ३० देखि ४५ मुठासम्म पात बिक्री हुने गरेको छ । यसबाट मासिक रु ३० हजारदेखि ४० हजारभन्दा बढी आम्दानी हुन्छ । सानो मुठा रु ४० देखि ६० र ठूलो मुठा रु १०० सम्म बिक्री गरिरहेकी छु’, उनले भनिन् ।

उनीहरू मात्रै होइन, बिना लगानी फुर्सदको सदुपयोग गर्दै पात संकलन र बिक्री गर्दा राम्रो आम्दानी हुने भएपछि इटहरीका अधिकांश महिलाहरूले यस्तै काम गर्न थालेका छन् । पूजापाठ, भोजभत्तेर, मन्दिर तथा घरायसी प्रयोजनका साथै दुनाटपरी बनाउन समेत प्रयोग हुने भएकाले सहरी क्षेत्रमा समेत पातको माग रहेको यसमा संलग्नहरूको भनाइ छ । रासस

विपद व्यवस्थापन प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिकसँगको सम्बन्ध उच्च बनाउन निर्देशन दिएका छन् ।

आज असोज १७ देखि असोज २० गतेसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान रहेकाले विपद् व्यवस्थापन बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

बिहीबार मनसुनसम्बन्धी विपद् संवाद भर्चुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले उक्त निर्देशन दिएका हुन् । उनले विपद् व्यवस्थापन गर्दा सुशासन र सेवा प्रवाह अटुट रहने कुरामा ध्यान दिनुपर्ने पनि बताए ।

सम्भावित विपद्लाई ध्यान दिई गृहमन्त्री अर्यालको उपस्थितिमा गृहसचिव रामेश्वर दंगालसहित गृह मन्त्रालय एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुको सहभागितामा भर्चुअल बैठक गरिएको हो । बैठकमा चार वटै सुरक्षा निकायका प्रमुख एवं विपद् फोकल पर्सन, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सदस्यहरुको उपस्थित थिए ।

आज घट्यो कि बढ्यो तरकारी र फलफूलको थोक मूल्य ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ५२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, आलु रातो (मुडे) प्रतिकिलो रु ४४, आलु सेतो प्रतिकेजी रु ४०, प्याज सुकेको भारतीय प्रतिकिलो रु ३९ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु ११०, लोकल बन्दा प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ११०, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला (लोकm) प्रतिकिलो रु ७०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ११०, मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकेजी रु ७०, भटमास कोसा प्रतिकिलो रु ९०, तीतो करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ८०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, सलगम प्रतिकिलो रु ९०, भिण्डी प्रतिकिलो रु ८० कायम गरिएको छ ।

सखरखण्ड प्रतिकेजी रु १००, बरेला प्रतिकेजी रु १००, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो साग प्रतिकेजी रु २००, चमसुर प्रतिकेजी रु १८०, तोरीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १५०, चुकुन्दर प्रतिकिलो रु ७०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु १२००, सौफको साग प्रतिकिलो रु ३००, पुदिना प्रतिकिलो रु ८००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु १८०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, अम्बा प्रतिकिलो रु १५० र लप्सी प्रतिकिलो रु ८०, किबी प्रतिकिलो रु ३००, सरिफा प्रतिकिलो रु १२० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ९०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु २००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२० रहेको छ ।

यस्तै लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रूख टमाटर प्रतिकिलो रु २०० निर्धारण गरिएको छ ।

 

प्राधिकरणले तोक्यो आन्तरिक हवाई भाडादर, कहाँको कति ?

काठमाडौं । चाडबाडका बेला हवाई टिकटको माग अत्यधिक हुँदा महँगोमा बिक्री गर्न सक्ने सम्भावनालाई ध्यान दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।

सरकारबाट स्वीकृत भाडाभन्दा बढी रकम यात्रुबाट नलिन तथा लिए कारबाही हुने चेतावनी पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई दिएको छ । नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको भाडादर अनुसार सबैभन्दा धेरै हवाईभाडा काठमाडौँ–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम काठमाडौँ–सिमराको ३ हजार ९७८ रुपैयाँ तोकिएका छन् ।

हेर्नुस् हवाई भाडादरको सूची 
काठमाडौँ–विराटनगर : ९,७८५ रुपैयाँ ।
काठमाडौँ–भरतपुर : ४,६४३ रुपैयाँ ।
काठमाडौँ–भद्रपुर : १२,११२ रुपैयाँ ।
काठमाडौँ–जनकपुरमा : ५,४७० रुपैयाँ ।
काठमाडौँ–पोखरा : ६,६३५ रुपैयाँ ।
काठमाडौँ–नेपालगञ्ज : १३,१०३ रुपैयाँ ।
काठमाडौँ–धनगढी : १७,५७९ रुपैयाँ ।
काठमाडौँ–सिमरा : ३,९७८ रुपैयाँ ।
काठमाडौँ–भैरहवा : ८,४६१ रुपैयाँ ।
काठमाडौँ–राजविराज : ८,२१० रुपैयाँ ।
काठमाडौँ–सुर्खेत : ९ हजार ३० रुपैयाँ ।
काठमाडौँ–तुम्लिङटार : ७,६३० रुपैयाँ ।

पुलमुनि मोटरसाइकलसहित मृत्त भेटिए युवक

पर्सा । पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरस्थित पुलमुनि शुक्रबार बिहान एक युवक मृत भेटिएका छन् । वडा नम्बर ३ को कार्यालयबाट करिब १०० मिटर पश्चिमतर्फ रहेको झलमहिया र भिस्वा जोड्ने सडकमा अवस्थित पुलमुनि खसेको अवस्थामा भारतीय नम्बर प्लेटको होण्डा साइन मोटरसाइकलसहित झलमहिया गाँउकै २८ वर्षीय रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन् ।

पुलमुनिको पानीमा वीर आर २२ ए एल १२७३ नम्बरको मोटरसाइकलसँगै मृत भेटिएका ती युवकको मृत्युको यकिन कारण अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

घटनास्थल र शवको प्रकृति हेर्दा मोटरसाइकलसहित पुलमुनि खसेर युवकको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीको भनाई छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पोखिरियाको प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

‘डाइभर्सन’ नहुँदा मालबाहक ट्रली थन्किए भन्सारमै

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा सडक डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भइसकेका सिनो हाइड्रो पावर कम्पनीका १८ वटा मालबाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन् ।

जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पाङ्ग्रे ट्रली मङ्गलबारदेखि भन्सार कार्यालय न्हेचुङमै थन्किएका हुन् ।

कोरला नाकाबाट ढुवानी गरी फर्किएका मझौला खालका मालबाहक कन्टेनरहरू मुश्किलले तल झारिए पनि ‘हेभी’ मालबाहक ट्रलीको भार अस्थायी पुलले थेग्न नसक्ने भएकाले भन्सार कार्यालयमा रोकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । अब दसैँपछि व्यवसायी र आयोजना मिलेर डाइभर्सन निर्माण गरी समस्या समाधान गरिने उनले बताए ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि कोरला सडकको घमी खोलामा सडक डाइभर्सन नहुँदा समस्या भएको बताए । व्यापारीसँग समन्वय गरी डाइभर्सन निर्माण गर्न पहल भइरहेको उनले बताए ।

घमी खोलामा निर्माणाधीन पुल सात वर्ष भइसक्दा समेत सम्पन्न हुन सकेको छैन । पुल निर्माणका लागि विसं २०७५ रु छ करोड ८० लाख लागतमा हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्टक्सनसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीलाई आयोजनाले दैनिक हर्जाना समेत लगाइरहेको भए पनि काम अझै अघि बढ्न सकेको छैन । एक स्पानको ४० मिटर लामो पुल बनाउने भनिएकामा हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

 

हेटौंडा–काठमाडौं जोड्ने दुई सडकमा राति गाडी चलाउन रोक

बागमती । हेटौंडा–काठमाडौँ जोड्ने दुई सडकमा आज (शुक्रबार) देखि तीन दिनसम्म बेलुकाको समयमा गाडी चलाउन रोक लगाइएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते बेलुका ४ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र हेटौँडा–भैँसे–काठमाडौँ सडकमा बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिइन् ।

जल तथा मौसम विभागद्वारा जारी मौसम पूर्वानुमानसम्बन्धी सूचनाबमोजिम असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले परिस्थितिलाई मध्यनजर गर्दै यी दुवै सडकमा बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ ।

त्यस अवधिमा अत्यन्त जरुरी कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गर्दै प्रजिअ श्रेष्ठले पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा धनजनको क्षति हुन नदिन सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।

विपद् पूर्व तयारी र प्रतिकार्यमा जुट्न सबै साझेदार संस्थाहरू, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिको नियमित समन्वय र सम्पर्कमा रही सतर्क रहन पनि आग्रह गरिएको छ ।

पाँच ठाउँमा पूर्णरुपमा सडक अवरुद्ध

काठमाडौं । बाढी–पहिरो र वर्षाका कारण कोशी र बागमती प्रदेशका पाँच ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ७ बजे सार्वजनिक गरेको विवरण अनुसार अविरल वर्षाले संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

यस्तै बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ मा नेपाल–चीन नाका जोड्ने पुलनेर सडक पूर्णरुप्मा अवरुद्ध भएको छ । यसैगरी गोसाइँकुण्ड गाउँपालिका २ मै पासाङ ल्हामु सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ ।

नेपाल–चीन सीमा क्षेत्रमा गत असार २४ गतेदेखि नै बाढीले सडक अवरुद्ध भएको हो भने पासाङ ल्हामु सडकखण्डमा भने यही असोज १६ गते पहिरो गएर यातायात अवरुद्ध भएको हो । यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ चारकिलो भन्ने स्थानमा पहिरो झरेर अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

हेर्नुस् प्रहरीको सूचना

 

सल्यान दुर्घटना : घाइते निशाको भारतमा निधन, मृतकको संख्या चार पुग्यो

सल्यान । रुकुम पश्चिमको बाँफिकोटबाट दाङ जाँदै गरेको फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका–३ मा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । असोज ११ गते शनिबार राति भएको दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

निशा र उनका सहोदर दाइ ठगेन्द्र केसी घाइते भएका थिए । २७ बर्षीया निशाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–४ का वडाध्यक्ष शेरबहादुर ओलीका अनुसार आज बिहान २ बजेको समयमा निशाको निधन भएको हो ।

उनका दाइ ठगेन्द्रको उपचार चलिरहेको छ । उक्त दुर्घटनामा निशाकी आमा ६८ बर्षीया पवि केसीसहित २७ वर्षीय शशीधर केसी र बाँफिकोट–४ का २७ वर्षीय प्रकाश केसीको निधन भएको थियो । आमा पविलाई उपचारका लागि लिएर जाने क्रममा निशा, ठगेन्द्र र शशीधर दुर्घटनामा परेका हुन् । लु २ ख ६५०२ नम्बरको हायस गाडी सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।

 

भक्तपुरमा पायःद्यो (खड्ग जात्रा) सहित तलेजुको घोडा जात्रा

भक्तपुर । बडादसैँँको दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा सम्पन्न भएको छ । एकादशीको दिन आज बिहान पायःद्यो जात्राका क्रममा तलेजु भवानीको साक्षात् रुप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई जात्रा मनाउने परम्परा रहेको संस्कृतविद् प्रकाश कायस्थले जानकारी दिए ।

बडादसैँको मध्यराति तलेजु आगम घर (मन्दिर) को खँ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलि पात्र र शस्त्रास्त्रसहित तलेजुको प्रतिरुप पायःद्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

खड्ग जात्राका क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि पूजा र दर्शन गर्न दिने परम्परा रहेको छ । विजयादशमीको दिनभर ब्रह्मायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण ब्रह्मायणीबाट राति भक्तपुरको विभिन्न टोल घुमेर जात्रा गर्दै दरबारस्क्वायर आएपछि बहिनी ब्रह्मायणीले दिदी तलेजु भवानीलाई दर्शन एवं ढोग गरी मन्त्रसिद्धि गरिने परम्पराअनुसार जात्रा सम्पन्न भएको तलेजुका मूल नाइके जोशीले जानकारी दिए ।

उनका अनुसार तलेजुलाई दरबार स्क्वायरस्थित स्वर्णद्वार (गोल्डेन गेट) ल्याएपछि पंक्तिबद्ध रुपमा प्रतीक्षारत नवदुर्गा देवगणलाई पालैपालो तलेजुद्वारा मन्त्रसिद्धि प्रदान गर्ने र तलेजु भवानीबाट मन्त्रसिद्धि प्राप्तिपछि पायःद्यो जीवित देवता नवदुर्गा देवगणसहित यात्रा पथमा अगाडि बढ्ने प्रचलन रहेको छ ।

चन्द्रमासको तिथि र गतिका आधारमा नगरको माथिल्लो र तल्लो क्षेत्रमा जात्रा हुने परम्परा रहेअनुसार यसवर्ष माथिल्लो क्षेत्र दरबार स्क्वायरस्थित गोल्डेन गेटबाट बालाखु गणेश, भोलाछेँ, दत्तात्रय, सुकुलढोका, क्वाछें, तौमढी हुँदै दरबारस्क्वायरस्थित जगन्नाथ (पशुपति) मन्दिरको परिक्रमा र ढोग गरी दरबारस्क्वायर लगेर तलेजुको देवगृहमा प्रवेश गराएर जात्रा बिहानी पख सम्पन्न गरिएको जोशीले जानकारी दिए।

बडादसैँको मध्यरातमा ऐतिहासिक एवं धार्मिक सांस्कृतिक महत्वको यो जात्रालाई खड्ग जात्रा भनेर चिनिने गरिएको उनले जानकारी दिए । विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी विसर्जन पूजा सम्पन्न गरेपछि सेतो घोडा जात्रा हुने सुरु हुने परम्परा छ ।

जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेँडा बलि चढाए पछि तलेजुको मूलचोकबाट सेतो घोडालाई बाहिर ल्याई भक्तपुर नगरमा डुलाएर घोडा जात्रा गर्ने गरिएको छ । जात्राको क्रममा ब्रह्मायणी र तलेजुलाई नगरको विभिन्न क्षेत्रका परिक्रमा गराउने क्रममा तलेजुको बाहन सेतो घोडालाई पछि परिक्रमा गराएर जात्रा मनाएको हो । ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा रहेको छ ।

महोत्तरीमा बस दुर्घटना : एकको मृत्यु, २० जना घाइते

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६३० नम्बरको बस आज बिहान काठमाडौंतर्फ जान लागेको बेलामा दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

सडकमा पल्टिएको बसमा एक जना च्यापिएका छन् । प्रहरी घटनास्थलमा टोली पुगेर घाइतेहरुको उद्धार गर्दै अस्पताल पठाएको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुदन गुरुङ : ‘हाइज्याक’ कि नेतृत्व ?

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको ‘जेन जेड आन्दोलन’ अहिले सुदन गुरुङको नामसँग जोडिएको छ । आन्दोलनको सुरुवातमा नेतृत्वमा नदेखिएका सुदन अहिले प्रधानमन्त्री छान्ने तहसम्मको निर्णय प्रक्रियामा प्रभावशाली देखिँदैछन् । शपथदेखि संविधान दिवससम्मका सबै राजकीय गतिविधिमा क्यामरा सुदनतिरै केन्द्रित देखिन्छ ।

सुदन गुरुङ २०७२ को भूकम्पपछि सामाजिक काममा होमिएका थिए । डीजे पेसाबाट उदाएका उनले ‘हामी नेपाल’ नामक संस्था स्थापना गरी विशेषतः कोभिडमा मानवीय सहायतामा सक्रियता देखाए । आन्दोलन सुरु हुँदा उनी स्वयंसेवकका रूपमा मात्र थिए ।

माइतीघरमा भएको प्रदर्शनका लागि अनुमति सबल गौतम र पुरुषोत्तम यादवले लिएका थिए । ‘नेता कोही छैन’ भन्ने सहमतिसहित सुरु भएको आन्दोलनमा सुदनले आफ्नै संस्थाको ज्याकेटमा अग्रपंक्तिमा देखा परेपछि उनीमाथि ‘हाइज्याक’ को आरोप लाग्न थाल्यो ।

भदौ २३ को आन्दोलनमा प्रहरीले गोली चलाउँदा ठूलो मानवीय क्षति भयो । त्यसपछि सेना सक्रिय बन्यो । २४ गते रातिदेखि सेनाले ‘हामी नेपाल’ सँग समन्वय सुरु ग¥यो । सुदनले आफ्नो नेटवर्क प्रयोग गरेर सेना र संकटग्रस्त स्थानबीच सूचना प्रवाहको पुल बने । त्यसपछि सुदन क्रमशः वार्ताकार र आन्दोलनको ‘अनौपचारिक नेता’ बने ।

२५ गतेदेखि उनले अन्तरिम सरकार, संसद् विघटन, संविधान संशोधनजस्ता विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न थाले । आन्दोलनका सुरुवाती अगुवाहरूले सुदनको पारदर्शिता, आक्रामक अभिव्यक्ति शैली र एकल निर्णय प्रक्रियाप्रति आलोचना गरे पनि उनका कामको प्रभावलाई स्वीकार गरेका छन् ।

जेन जेड अभियन्ता तनुजा पाण्डे भन्छिन्, ‘हाइज्याक होइन । सुदनले जेन जेडका माग नसुनिने खतरा भएको बेला अगाडि बढेर काम गरे । तर पारदर्शिताको कमी समस्या हो ।’ अर्का अभियन्ता मिराज ढुंगाना र पुरुषोत्तम यादव पनि सुदनले राम्रो काम गरेकाले क्रेडिट पाउनु पर्ने धारणा राख्छन् ।

विवाद र आलोचनाबीच पनि सुदन अहिले आन्दोलनको अनुहार बनेका छन् । उनी नेतृत्वमा कसरी आए ? नियोजित थिए कि परिस्थितिले तानिए ? यसको जवाफ अझै खुल्दैछ । तर एक कुरा स्पष्ट छ– सुदन यो आन्दोलनको उत्पत्ति होइनन्, तर अहिलेको अनुहार अवश्य हुन् ।

आज एकादशीको दिन पनि दशैंको टीका लगाइँदै

काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज (शुक्रबार) एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् । नजिकका परिवारका सदस्य र मान्यजनहरुबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तजनहरुसम्म पुग्न नपाएकाहरुले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्दछन् ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वेदमणि भट्टराई कसैले विजया दशमीको दिनमात्र टीका लगाउने चलन भए पनि कसैले कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन रहेको भन्दै त्यसलाई अन्यथा रुपमा लिन नहुने बताउँछन् ।

उनले भने, ‘नेपाली समाजको परम्परा आफ्नै विशिष्ठता र विशेषतायुक्त छ । ठाउँअनुसार आफ्नै खालका परम्पराहरु छन् । पूर्वी र मध्य नेपालमा पूर्णिमाका दिनसम्म टीका लगाइदिने चलन छ । पश्चिम नेपालका कैयौं ठाउँहरुमा दुर्गा विसर्जन गरेको एक दिन मात्रै टीका ग्रहण गरौं भन्ने चलन बस्यो । आ–आफ्नै परिवेश अनुसार चलेका चलनलाई अन्यथा लिने कुरा भएन ।’ यस्तै आज आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा एकादशीका रूपमा मनाइँदैछ । आजको एकादशीका दिन व्रत बसे विगतमा जानी–नजानी गरेका पापमा अंकुश लाग्ने धार्मिक विश्वास छ ।

 

देशभर बर्षाको सम्भावना, यी प्रदेशमा ठूलो पानी पर्ने

काठमाडौं । आज (शुक्रबार) देशभर बर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । केहि प्रदेशमा ठूलो वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली (आकाशभरि बादल) रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भू–भाग, मधेस प्रदेशलगायत देशका बाँकी प्रदेशका पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भू–भाग, मधेस प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो । मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ ।

५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ ।

यस्तै एक–दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो । यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ ।

त्यस्तै ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ । त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ । यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ ।

सरकारमा हुनेहरूको बुद्धि नपुगेका कारण जेन–जी पुस्ताको ज्यान गयो : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरूको बुद्धि नपुगेका कारण जेन–जी पुस्ताहरूको ज्यान गएको बताएकी छन् । विजया दशमीको दिन जेन–जी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी हुन्।

नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचेको पनि उनले बताइन् । राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीले जनाइन् ।

‘दुःखद घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन जस कारण यो दुर्घटना भयो । बच्चाहरूले पढ्ने कसरी ? उहाँहरूको पढाइ, कामहरू दिने गरी सोचिरहेका छौं । उहाँहरूले मागेकै केही छैन । उहाँहरूको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट उठ्नलाई मद्दत गर्ने भन्ने हो ।’

प्रधानमन्त्री कार्कीसँगै सहिद परिवार भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिदहरूको रगतमाथि अन्याय हुन नदिने र उनीहरूको रगतले न्याय पाउने बताए । गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गयो । सयौं मानिस घाइते भएका छन् । यस वर्ष सदाझैं पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री कार्कीले सर्वसाधारणलाई दसैंको टीका लगाइ दिएनन् ।

मुक्तिनाथमा आयोजित छ महिने महायज्ञ सकियो

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ धाममा सञ्चालित छ महिने महायज्ञ विधिवत रूपमा आज समापन भएको छ । मुक्तिनाथ मन्दिरका पिठाधीस जगतगुरु स्वामी कमलनयनाचार्यको उपस्थितमा विशेष पुजापाठसहित महायज्ञ समापन भएको हो ।
कालीगण्डकीको शालिग्राम र मुक्तिनाथको प्रचारप्रसार गर्ने, धार्मिक आस्थालाई एकआपसमा जोड्ने र विश्वशान्तिको कामना गर्दै गत चैतको रामनवमीदेखि मुक्तिनाथमा महायज्ञ सुरु भएको थियो । कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्प अनुसार त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामबाट मुक्तिनाथधामसम्म विशाल रथयात्रासहित  सुरु भएको महायज्ञ आज समापन भएको हो ।
बडादसैँको शुभदिनमा आज विधिवतरूपमा पूजापाठ गरी महायज्ञ बिर्सजन भएको कागबेनीधामका पुजारी प्रताप आचार्यले जानकारी दिए । मुक्तिनाथमा आयोजित महायज्ञको पूर्ण आहुतिसँगै पुनः मुक्तिनाथ धामबाट रथयात्रा सुरु भइ त्रिवेणीस्थित गजेन्द्र मोक्षधामसम्म रथयात्रा प्रस्थान गर्ने कार्यक्रम रहेको पुजारी  आचार्यले जानकारी दिए ।

विजयादशमी : देखिन थाल्यो दुर्गा देवीको प्रसाद र आशीर्वाद थाप्नेको चहलपहल

काठमाडौं । नौं दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद घरमा मान्यजनबाट ग्रहण गरेपछि घरबाहिर टीका लगाउन हिँड्नेको आजैदेखि राजधानीलगायत देशभर चहलपहल देखिन थालेको छ ।

महानवमीका दिन बुधबार सुनसानप्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने घर बाहिरका आफन्तसँग दुर्गादेवीको प्रसाद लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो । निधारमा रातो टीका र टाउकोमा जमरा लगाएका मानिस अन्यत्र टीका एवं आशीर्वाद थाप्न हिँड्न थालेका छन् ।

दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नगरेसम्म जारी रहन्छ । राजधानीमा मानिसको चहलपहल बढे पनि सार्वजनिक सवारी भने निकै कम चलेका छन् । थोरै मात्रामा चलेका सार्वजनिक सवारीमा कोचिएर यात्रा गर्न यात्रु बाध्य छन् । यस वर्षको दशैँमा झरी परेका कारण पनि टीका एवं आशीर्वाद थाप्न हिँड्ने मानिस प्रभावित भएका छन् । महानवमीका दिन बुधबार र आज बिहान पनि राजधानीलगायत विभिन्न स्थानमा वर्षा भएको थियो ।

दशैंको टीकाको दिन पनि सडक र पुल निरीक्षणमा मन्त्री घिसिङ

रामेछाप । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दशैंको टीकाको दिन पनि बीपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् ।

सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री घिसिङ बडादशैँ पर्वको बिदाका अवसरमा पनि सम्बद्ध मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीलाई साथमा लिई स्थलगत निरीक्षणसहित निर्देशन दिएका हुन् ।

उनले काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने महत्वपूर्ण सडक खण्डका बिग्रेभत्केका भौतिक संरचना र अलपत्र अबस्थामा रहेका पुल तथा पूर्वाधारहरूको निरीक्षण गरी सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशन दिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

संघीय राजधानी काठमाडौँबाट विपी राजमार्ग हुँदै गृह जिल्ला रामेछाप आएका मन्त्री घिसिङले वीपी राजमार्गसहित खैरेनी घाटको पुल र निर्माणाधीन मध्यपहाडी लोकमार्गको कार्यप्रगतिका वारेमा जानकारी लिए ।

बाढी–पहिरोलगायतका कारण बिग्रे–भत्केका संरचनाहरुको अस्थायी रुपमा भने पनि जतिसके छिटो मर्मत गर्नुपर्ने बताउँदै उनले भत्केका पक्की पुलहरुको स्थानमा ‘बेली बृज’ र ‘कल्भर्ट’ निर्माण गर्न र सडकमा देखिएका खाल्टाखुल्टी पुरी सहजरुपमा यातायात सञ्चालन तथा व्यवस्थापन गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको बताए ।

प्रधानमन्त्री कार्कीले भेटिन् जेनजी आन्दोलनका शहीदका परिवार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विजयादशमीको अवसर पारेर आज ‘जेनजी’ आन्दोलनका शहीदका परिवारलाई भेटेकी छन् ।प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थली पुगेर शहीद सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी हुन् ।

यस्तै उनले नागार्जुन–३ पुगेर शहीद कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगर पुगेर शहीद बुद्धिबहादुर तामाङको परिवारलाई भेटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीसँग सञ्चारमन्त्री जगदीश खरेल पनि शहीदका परिवार भेट्न पुगेका थिए ।

गत भदौ २३ र २४ गते जेनजीको नेतृत्वमा भएको आन्दोलनका क्रममा अहिलेसम्म सुरक्षाकर्मी समेत ७६ जनाको मृत्यु भएको सरकारले जनाएको छ । आन्दोलनका क्रममा मारिएका युवालाई सरकारले शहीद घोषणा गरिसकेको छ । आन्दोलनमा घाइते भएकामध्ये ३८ जना अझै उपचारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लगाए टीका

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पिता भोजप्रसाद भट्टराईको हातबाट दशैंको टीका ग्रहण गरेका छन् । भट्टराईले बिहीबार बिहान शुभसाइतमै पिताको हातबाट टीका लगाएर आर्शिवाद ग्रहण गरेको परिवारसहितको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेका हुन्।

‘एलन मस्क विश्वकै पहिलो दुई अंकको खर्बपति बन्ने बाटोमा’

काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले इतिहासमा पहिलो पटक खर्बपति बन्ने सम्भावना बढाएको फोर्ब्स पत्रिकाले रिपोर्ट गरेको छ । मस्क अहिले विश्वको पहिलो दुई अंकको खर्बपति बन्ने यात्राको करिब आधा चरणमा पुगेका छन् ।

टेस्ला र स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कको नेटवर्थ हालै पाँच खर्ब डलर नाघेको थियो । यद्यपि, उनको विद्युतीय गाडी कम्पनी टेस्लाको सेयरमा उतार–चढावका कारण बुधबार बिहान पाँच खर्ब १० अर्ब डलर पुगेको सम्पत्ति केही समयमै झरेर चार खर्ब ९९ अर्ब १० करोड डलरमा पुगेको फोब्र्सको रियल–टाइम बिलियनेयर्स ट्रयाकर मा उल्लेख छ ।

विश्वका अन्य धनी व्यक्तिहरू
मस्कपछि दोस्रो स्थानमा ओरेकलका सिइओ ल्यारी एलिसन तीन खर्ब ५० अर्ब ७० करोड डलर नेटवर्थसहित रहेका छन् । तेस्रो स्थानमा मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्ग दुई खर्ब ४५ अर्ब ८० करोड डलर सम्पत्तिसहित अगाडि छन् ।

मस्कको यात्रा : विद्यार्थीदेखि उद्यमीसम्म
पेन्सिलभेनिया विश्वविद्यालयबाट स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययन सुरु गरे पनि पूरा नगरेका मस्कले सन् १९९९ मा पहिलो ठूलो सफलता पाए । उनले आफ्नै अनलाइन प्रकाशन सफ्टवेयर कम्पनीलाई अमेरिकी कम्प्युटर निर्माता कम्प्याकलाई ३० करोड डलरभन्दा बढीमा बेचे ।

त्यसपछि सुरु गरिएको अर्को कम्पनी पछि पेपालसँग मर्ज भयो । त्यो उद्यम छोडेपछि दक्षिण अफ्रिकामा जन्मेका यी टेक उद्यमीले सन् २००२ मा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स स्थापना गरे । त्यसपछि सन् २००४ मा विद्युतीय कार निर्माता टेस्लाको अध्यक्ष बन्नुभयो र कम्पनीलाई विश्वकै अग्रणी प्रविधि व्यवसायमध्ये एकमा उभ्याए ।

दुई अंकको खर्बपति बन्ने सम्भावना
विशेषज्ञहरूको भनाइमा मस्कको सम्पत्ति वृद्धि टेस्ला, स्पेसएक्स र अन्य प्रविधि व्यवसायको तीव्र विस्तारसँग जोडिएको छ । हालको प्रगति हेर्दा उहाँलाई विश्वकै पहिलो दुई अंकको खर्बपति बन्ने सम्भावना निकट देखिएको छ । मस्कले आफ्नो व्यवसायिक साहस, नवीन सोच र प्रविधिमा लगानीमार्फत सम्पत्ति मात्र नभई विश्व अर्थतन्त्रको भविष्यलाई समेत पुनः परिभाषित गरिरहेको फोर्ब्सले टिप्पणी गरेको छ ।

भारतीयलाई भिजिट भिसा : ६ हजारलाई अवैधरुपमा तेस्रो मुलुक उडाइयाे

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिल्लो समय मानव तस्करीको ‘ट्रान्जिट हव’ को रुपमा परिणत हुँदै गएको देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको नाममा सात महिनामै ६ हजार भारतीय नागरिक तेस्रो मुलुक उडेको खुलासा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले सहसचिव तीर्थराज भट्टराई नेतृत्वमा संगठित टोलीले ‘नो अब्जेक्सन सर्टिफिकेट (NOC) विना नै यो कार्य गरेको खुलेको हो । भट्टराई २०८१ असोज २३ देखि विमानस्थल अध्यागमन प्रमुखको रूपमा कार्यरत रहँदा गैरकानुनी रूपमा भारतीय नागरिकलाई अमेरिका, क्यानडा र युरोपतर्फ पठाइएको पाइएको हो । प्रतिव्यक्ति एक हजारदेखि दुई हजार अमेरिकी डलरसम्म असुली यस्तो अवैध काम गरिएको विवरणमा उल्लेख छ । अनुसन्धानकर्ताहरूका अनुसार सो रकम बिचौलियादेखि गृह प्रशासनको उच्च तहसम्म पुगेको आशंका गरिएको छ ।

छापा, नियन्त्रण र प्रारम्भिक संकेत
गत ७ जेठमा आयोगले अध्यागमन कार्यालयमा छापा मारी सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनले उच्च तहको संलग्नता समेत संकेत गरेका छन् । अनुसन्धान अधिकृतका अनुसार तत्कालीन गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडीलगायतका संलग्नता छानबिनको घेरामा छन् ।

नक्कली NOC र भारतीय दूतावासको सहयोग

अनुसन्धानको क्रममा केही भारतीयले नक्कली NOC देखाएर विदेश गएका थिए भने कयौंले त NOC नै नलिइकन यात्रा गरेका थिए । काठमाडौंस्थित भारतीय दूतावासले NOC जारी भएकाहरूको विवरण उपलब्ध गराएपछि धेरै अनियमितता खुल्न आएको हो ।
सुन तस्करीका अभियुक्त पनि भागे विमानस्थलबाट

२०७९ चैतमा भएको ९५.५ किलो सुन तस्करी प्रकरणमा संलग्न देखिएका जागेश्वर शाहलाई कालोसूचीमा राखिएको भोलिपल्टै उनी विमानस्थलबाट दुबई भागेको छानबिनमा देखिएको छ । उनका छोरा आसिफ शाह भने दूतावासको पत्र आउनुअघि नै विदेश पुगेका थिए ।

राजनीतिक संरक्षण र अनुसन्धानमा अवरोध
गृहमन्त्री लेखक कार्यकालमा दुई पटक छानबिन गर्न आग्रह गरिएको भए पनि गृह मन्त्रालयले चासो नदेखाएपछि प्रधानमन्त्री कार्यालय हुँदै अख्तियारले निगरानी बढाएको थियो । छानबिनकै बीच भट्टराईको सरुवा भएपछि सूचना चुहिएको आशंका गरिएको छ ।

भिजिट भिसा गिरोह : ट्राभल एजेन्सी र सचिवालयसम्म सम्बन्ध

अनुसन्धानका क्रममा भट्टराई ट्राभल एजेन्सी सञ्चालकहरूसँग नियमित सम्पर्कमा रहेको देखिएको छ । विशेष गरी ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्कासँग बारम्बार सम्पर्क भएको कल विवरणबाट पुष्टि भएको हो। संकलित रकमको व्यवस्थापनमा सीआईएसटी कलेजकी कर्मचारी कविता पौडेल र भक्तपुरका खगेन्द्र सुवेदीको संलग्नता समेत अनुसन्धानमा आएको छ।

स्पेन प्रकरण : अन्तर्राष्ट्रिय सम्मेलनको आवरणमा मानव तस्करी

संयुक्त राष्ट्रसंघीय सम्मेलनको बहानामा स्पेन पठाइएका नेपालीहरूबारेको अनुसन्धान भने बीचमै अलपत्र परेको छ । १५ लाख रुपैयाँसम्म असुलेर ११७ नेपाली दिल्ली हुँदै स्पेन प्रवेश गराएका थिए । अधिकांश फिर्ता आए पनि ठूलो संख्यामा भारतीय विमानस्थल हुँदै गएका नेपाली युरोपमै हराएको पाइएको छ ।

बीपी राजमार्गमा आजदेखि रातको समयमा गाडी चलाउन रोक

काठमाडौं । व्यापक वर्षाको सम्भावना देखिएपछि बीपी राजमार्गमा आज असोज १६ देखि २० गतेसम्म रातको समय अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

काभ्रे जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गरी असोज १६ गते बिहीबारदेखि २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेबेंसी–सिन्धुली सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारीसाधन आवागमन निषेध गरिएको जानकारी दिएको हो ।

यस्तै रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारीसाधनहरू रोक्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुस् सूचना

व्यासमा खोलियो नौं किलोमिटर नयाँ ‘ट्रयाक’

तनहुँ । विकास–निर्माणका गतिविधिलाई केन्द्रमा राखेर क्रियाशील व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नौ किलोमिटर नयाँ ‘ट्रयाक’ खोलेको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार नगरपालिकाले गत आवमा ३.९४ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ । हालसम्म नगरपालिकाका १०५ किलोमिटर सडक कालोपत्र र ढलान भएका छन् । यी पालिकाका भित्री सडक पनि हुन् । सोही आवमा एउटा पक्की पुल र पाँच वटा उद्यान पनि निर्माण भएका छन् । साथै ४९६ घरमा स्वच्छ खानेपानीको प्रबन्ध भएको छ ।

एक हजार ५४ आयोजना सम्पन्न

नगरपालिकाले गत आवमा वर्ष एक हजार ५४ आयोजना सम्पन्न गरेको छ । एक हजार २१ उपभोक्ता समिति र ३३ वटा आयोजना ठेक्कामार्फत सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी दिए । पूरा भएका १६ वटा आयोजना रु ५० लाखभन्दा बढी लागतका, एक सय ६६ वटा आयोजना रु पाँच लाखदेखि ५० लाखसम्मका र आठ सय ७२ आयोजना रु पाँच लाखभन्दा कम लागतका हुन् ।

नेपाल मलेसियासँग पराजित

काठमाडौं । नेपाल मलेसियाविरुद्धको टी– २० सिरिजको पहिलो खेलमा तीन रनले पराजित भएको छ । मलेसियाले दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०१ रन मात्रै बनाउन सक्यो ।

नेपाललाई अन्तित ७ बलमा ७ रन आवश्यक थियो । तर, उक्त समयमा नेपालले सातौँ विकेट गुमायो । त्यसपछि ६ बलमा ७ रन आवश्यक रहेको नेपालले मात्रै ३ रन बटुल्यो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । सिरिजको दोस्रो खेल शनिबार हुनेछ ।

सुदन गुरुङ लक्षित हर्क साम्पाङकाे आरोप : यिनीहरु विदेशी पैसामा पालित दलाल हुन्

काठमाडौं । धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङले जेनजी प्रतिनिधिहरुप्रति कडा आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले विदेशी दलालका टोली आफूलाई जेनजी प्रतिनिधि भन्दै हिँडेको भन्दै आरोप लगाएका हुन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘विदेशी दलालका टोली आफूलाई जेनजी प्रतिनिधि भन्दै हिँडेका छन् । यिनीहरु विदेशी पैसामा पालित पोषित हुन् । सबैले बहिष्कार गरौं ।’

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जना नेपालीले ज्यान गुमाएका छन् । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधी सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उक्त सरकारले फागुनमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

तर, जेनजीहरु भने आफ्नो माग पूरा नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् । कार्कीको नेतृत्वका सरकार निर्माणमा हामी नेपाल नामक संस्थाका प्रमुख सुदन गुरुङले आफ्नो प्रभाव जमाएका थिए । जेनजी आन्दोलन अघि कुनै भूमिकामा नदेखिएका गुरुङ सरकार निर्माणमा भने एकाएक अगाडि आएका थिए ।

मलेसियाले नेपाललाई दियो १०५ रनको लक्ष्य

काठमाडौं । मलेसियाले अन्तर्राष्ट्रिय महिला ट्वेन्टी २० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितको लागि १०५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४ रनको योगफल बनाएको छ । मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन्भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन् ।

यो समाचार तयार पारिरहँदासम्म नेपालको लागि सुमन विष्टले दुई तथा रुविना क्षेत्रीले एक विकेट लिएका छन् । नेपाली महिला टोलीले आगामी जनवरीमा यहाँ आयोजना हुने टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने छ । सोही प्रतियोगिताको तयारीस्वरुप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको छ ।

प्रधानमन्त्रीले जेनजी आन्दोलनका मृतकका परिवारलाई भेट्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारसँग भेट गर्ने भएकी छन् ।

प्रधानमन्त्रीले आज अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्की स्वर्गीय श्रेष्ठ, नगरकोटी र तामाङका शोकाकुल परिवारजनलाई भेट्न उनीहरूका परिवार रहेका स्थान क्रमशः काठमाडौँ महानगरपालिका–१६ बनस्थली, नागार्जुन नगरपालिका–३ र कीर्तिपुर नगरपालिका–२ मैत्रीनगर पुग्ने कार्यक्रम छ ।

राजमार्गका यात्रु प्रतीक्षालय रङ्ग्याउँदै झलारीका युवा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका युवा दसैँका अवसरमा यात्रु प्रतीक्षालय रङरोगन गर्ने कार्यमा जुटेका छन् । उनीहरू स्थानीय व्यवसायीबाट रङ र आर्थिक सहयोग जुटाइ प्रतीक्षालयमा रङरोगन गर्न री चिटिक्क पार्ने कार्यमा जुटेका हु्न ।

वर्षौंदेखि रङरोगन नभएका र जीर्ण अवस्थाका प्रतीक्षालयमा रङ लगाउने र मर्मत गर्ने कार्य भएको युवा समाजसेवी जेनल विष्टले बताए । ‘साझा प्रयास र सहकार्यले मात्रै समृद्ध समाज निर्माण सम्भव हुन्छ । त्यसैले दसैँका बेला साथीभाइसँग रमाइलो गर्नेभन्दा समाजका लागि सिर्जनशील कार्य गरेर देखाउने छलफलपश्चात् यस कार्यमा जुटेका हौँ’, उनले भने ।

वन समिति र झलारीको नयाँ यात्रु प्रतीक्षालय रङरोगनको कार्य गरिएको र यस कार्यलाई दसैँपछि पनि निरन्तरता दिने योजना रहेको विष्टले बताए । उनले नगरपालिकाको पूर्व पश्चिम राजमार्ग क्षेत्रमा रहेका सबै प्रतीक्षालय रङरोगन र मर्मत गर्ने योजना सुनाए ।

यस अभियानमा व्यवसायी र स्थानीय वन समितिले पनि साथ दिएका छन् । युवाहरुले प्रतीक्षालय मात्र नभई बजार, धार्मिक तथा विद्यालयलगायत क्षेत्रमा पनि सरसफाइ गर्ने कार्यमा सहभागिता जनाउँदै आएका छन् । शुक्लाफाँटा नगरपालिकाका पूर्वनगर प्रमुख दिलबहादुर ऐरले युवाहरूले दसैँमा समाजका लागि अनुकरणीय कार्य गरेको बताए ।

जेनजी आन्दोलन : मधेसका २९७ कार्यालयमा क्षति

जनकपुरधाम । जेनजीको आन्दोलनमा मधेस प्रदेशका ९० वटा प्रहरी र २०७ वटा सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट रु सात करोड ३१ लाख २२ हजार बराबरको क्षति भएको छ ।

क्षतिग्रस्त सबै कार्यालय मर्मतसम्भारपछि सञ्चालनमा आएका छन्भने आन्दोलनबाट विस्थापित प्रहरी पनि काममा फर्किएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीले रु दुई करोड छ लाख ७८ हजार तीन सय ८० मूल्य बरावरका सवारी साधन जलाएका छन् ।

सवारी दुर्घटनामा दुईको मृत्यु, १३ जना घाइते

झापा । झापाको बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।

विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घाइेत सबैको स्थानीय बि एण्ड सी अस्पतालमा उपचार भइरकेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रवक्ता खड्काले बताए । दुर्घटनापछि फरार भएका बस चालकको खोजी जारी छ ।

राष्ट्रपति पौडेलले लगाए मूल पुजारीबाट दसैंको टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा हनुमानढोकास्थित दसैंघरका मूल पुजारी देवराज अर्यालबाट दसैँको टीका लगाएका छन् ।

उनले बिहान ११ बजेर ५३ मिनेटको शुभ साइतमा टीका प्रसाद ग्रहण गरेका हुन् । तर राष्ट्रपति पौडेल आफूले भने यसपालि सर्वसाधारण नागरिकलाई टीका लगाइदिएनन् । देशको विषम परिस्थितिका कारण यस वर्ष उनले टीका लगाइ दिने कार्यक्रम नराखिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ब्रह्मायणी जात्रा : बिहानैदेखि भक्तजनको भीड

भक्तपुर । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ । नवदुर्गा शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । रातिदेखि परेको वर्षाको समेत प्रवाह नगरी स्थानीय नेवार समुदायले रातिबाट नै भव्य रूपमा ब्रह्मायणी जात्रा मनाइरहेका छन् ।

आज बिहानैदेखि व्रत बसेकाहरू घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा पाँच, सात र १८ वटा दीप (दियो) बालेर ब्रह्मायणी मन्दिर जाने र पूजा गर्ने प्रचलन छ । सोहीअनुसार यहाँका बासिन्दाले शरीरमा बत्ति बालेर र शरीर नापेर ब्रम्हायणीसम्मको यात्रा पूरा गरेका छन् । यो परम्पराले मनोकांक्षा पूरा हुने, धर्म प्राप्त हुने जनविश्वास रहेको छ।

मन्दिरमा आज नवदुर्गा प्रकट हुने विश्वासका साथ दिनभरी नै भव्य मेला लाग्ने गर्दछ भने नेवार समुदायले मोहिनी नखः गरी घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पूजा लिएर मन्दिर जानै पर्ने परम्परा छ ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजनहरू आउने गर्दछन् ।

मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलीसमेत दिने गरिन्छ । गाँठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय अर्थात् राँगोलाई बुधबार साँझ नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताएर अबिर र तेल दलेर दौडाउदै, लखेट्दै ब्रह्मायणी मन्दिर पुर्याएर बद्य गरसँगै यो जात्रा सुरु भएको हो ।