`

सुरुङमा फसेकाको उद्धार कार्य आयोजनालाई नै जिम्मा

काठमाडौं। रसुवास्थित विभिन्न जलविद्युत् आयोजना तथा परियोजनाका सुरुङमा फसेका कर्मचारी तथा कामदारको खोज तथा उद्धारमा सरकारको प्रयास अपेक्षित रूपमा सफल हुन नसकेपछि सम्बन्धित आयोजनालाई समेत उद्धारमा परिचालन गर्ने निर्णय गरिएको छ ।

भोटेकोशीमा विनाशकारी बाढी आएको सातौँ दिन सरकारले सम्बन्धित जलविद्युत् आयोजनाका कम्पनीलाई आफ्नै प्राविधिक जनशक्ति, उपकरण र स्रोतसाधन प्रयोग गरी सुरुङभित्र फसेकाको खोज तथा उद्धारमा खटिन अनुमति दिएको हो ।

बाढीपछि सुरुङमा फसेका कर्मचारी तथा कामदारको उद्धार नेपाली सेनाको नेतृत्वमा हुँदै आएको थियो । तर, एक सातासम्म निरन्तर प्रयास गर्दा पनि सुरुङभित्र रहेका व्यक्तिहरूको उद्धार हुन सकेको छैन ।

यसअघि सरकारले उद्धार कार्यलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने भन्दै जलविद्युत् आयोजनाका कम्पनीलाई समेत प्रत्यक्ष रूपमा खोज तथा उद्धारमा सहभागी हुन रोक लगाएको थियो । अब भने सम्बन्धित आयोजनालाई आफ्नो प्राविधिक क्षमता, उपकरण र जनशक्तिसहित उद्धारमा परिचालन हुन बाटो खोलिएको छ ।

सुरुङभित्र फसेकाहरूको अवस्थाबारे परिवार तथा आफन्तमा चिन्ता बढिरहेका बेला सरकारले आयोजनाकै प्राविधिक टोलीलाई समेत परिचालन गर्ने निर्णय गरेको हो ।

रसुवा र नुवाकोटका विभिन्न १२ वटा जलविद्युत् आयोजनाका ८९४ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन रहेको बताइएको छ । सुरुङभित्र प्रवेश गरी उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विदेशी विशेषज्ञ टोलीसमेत विभिन्न क्षेत्रमा परिचालित छन् ।

बाढीपछि क्षतिग्रस्त सुरुङका प्रवेशद्वार, पानी तथा गेग्रानका कारण उद्धारमा कठिनाइ भइरहेको छ । केही आयोजनामा सुरुङभित्र पानी निकाल्ने, वैकल्पिक बाटो खोल्ने तथा आवश्यक उपकरण प्रयोग गरेर भित्र पस्ने प्रयास भइरहेको छ ।

सोलेबजारमा डसना, सिरक, तन्ना लगायतका अत्यावश्यक राहत सामग्री आवश्यक

नुवाकोट। विदुर नगरपालिका-६ सोलेबजार क्षेत्रका बाढीपीडितका लागि विभिन्न अत्यावश्यक राहत सामग्री आवश्यक परेको छ।

उपलब्ध सूचीअनुसार राहतका लागि ४५ थान डसना, ४५ थान सिरक, ४५ थान तन्ना, महिला ट्राउजर २५ थान, पुरुष ट्राउजर २० थान र २ हजार ३०० प्याकेट सेनिटरी प्याड आवश्यक रहेको उल्लेख छ।

त्यस्तै ९० वटा सोलार चार्जर तथा खाना पकाउने सामग्री र अन्य आवश्यक वस्तु पनि माग गरिएको छ।

राहत सामग्रीको सूची विदुर नगरपालिका-६, सोलेबजार क्षेत्रका प्रभावित परिवारका लागि तयार गरिएको हो।

 

बाढीपीडितको उद्धार र सहयोगमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिबद्धता

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा सहयोगमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति अजयकुमार मिश्रले सार्वजनिक प्रतिबद्धता जारी गर्दै बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका हुन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

बाढीपीडितको सहयोगका लागि प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरूले स्वेच्छाले दुई दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

प्रतिष्ठानका शिक्षक तथा कर्मचारीले व्यक्तिगत रूपमा आर्थिक तथा भौतिक सहयोगसमेत गरिरहेको जनाइएको छ । आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिष्ठानले जनाएको छ ।

विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा तथा अन्य सहयोग उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता पनि प्रतिष्ठानले जनाएको छ ।

प्राकृतिक विपद् वा सम्भावित प्राकृतिक तथा मानव सिर्जित आपत्कालीन अवस्थामा नागरिकको जीवनरक्षा र स्वास्थ्य सेवा प्रवाहका लागि प्रतिष्ठान सदा तयार रहने समेत जिकिर गरेको छ।

राष्ट्रिय सभामा सांसदहरुको माग, ‘राष्ट्रिय शोक घोषणा गरौँ’

काठमाडौं । राष्ट्रिय सभामा सांसदहरुले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गर्नुपर्ने माग गरेका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै विभिन्न दलबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सरकारले अविलम्ब राष्ट्रिय शोक घोषणा गर्नुपर्ने माग राखेका हुन्। 

बैठकमा कांग्रेस सांसद युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारसँग आग्रह गरे । ‘जे नहुनु थियो भइसक्यो । अब खोजी, उद्धार, राहत र पुनःस्थापनामा सरकारको ध्यान केन्द्रित हुनुपर्दछ,’ बैठकमा उनले भने ।

त्यस्तै, नेकपाकी सांसद मदनकुमारी शाह गरिमाले एक दिन राष्ट्रिय झण्डा झुकाएर राष्ट्रिय शोक घोषणागर्नुपर्ने धारणा राखिन्। बाढीबाट भएको क्षतिलाई सामान्य प्राकृतिक विपत्तिका रूपमा मात्र नहेरी राष्ट्रिय तहकै गम्भीर संकटका रूपमा लिनुपर्ने उनको भनाइ थियो।

शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले बाढीको कारण र यसको दीर्घकालीन असरबारे समेत सरकारको ध्यानाकर्षण गराए । 

सांसद सुरेशकुमार आलेमगरले विकसित मुलुकहरूले सिर्जना गरेको जलवायु परिवर्तनको असर नेपालजस्ता कमजोर तथा विकासोन्मुख देशले बढी भोग्नुपरेको बताए । उनले नेपालमा पछिल्लो समय देखिएका बेमौसमी तथा विनाशकारी प्राकृतिक विपत्तिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताए ।

 

मस्कको दाबी : मानिसलाई एआईले उछिन्नेछ

काठमाडौं । टेस्ला र स्पेसएक्सका सञ्चालक एलन मस्कले कृत्रिम बुद्धिमत्ता (एआई) को विकासले चाँडै नयाँ चरण पार गर्ने दाबी गरेका छन् । 

उनले २०२७ को अन्त्यसम्म एआईले कम्प्युटर र इन्टरनेटमा आधारित अधिकांश काम मानिसभन्दा राम्रोसँग गर्न सक्ने अवस्था आउन सक्ने दाबी गरेका हुन्। 

सामाजिक सञ्जालमा आएको एक पोस्टको जवाफ दिँदै उनले एआईको क्षमताबारे यस्तो धारणा सार्वजनिक गरे। उनले एआईले डिजिटल क्षेत्रमा मानिसभन्दा तीव्र र प्रभावकारी रूपमा काम गर्ने क्षमता विकास गरिरहेको जिकिर गरे।

सफ्टवेयर निर्माण, अनुसन्धान, डेटा विश्लेषण तथा इन्टरनेटमा आधारित अन्य काममा एआईले मानिसलाई पछि पार्न सक्ने उल्लेख गरे।  यद्यपि यसको प्रभाव तत्काल भौतिक संसारमा भने त्यही गतिमा नदेखिने उनको ठम्याई छ। 

कारखानामा सामान उत्पादन गर्ने, घर निर्माण गर्ने वा अन्य शारीरिक श्रममा एआईले तत्काल मानिसलाई विस्थापित गर्न नसक्ने बताए। त्यसैले एआईले नियन्त्रण गुमाएर रोबोटले संसार कब्जा गर्ने ‘द म्याट्रिक्स’ शैलीको अवस्था अहिले नै आउने चिन्ता गर्नुपर्ने अवस्था नरहेको मस्कले संकेत गरे ।

करिब एक दशकअघि गुगलका सहसंस्थापक ल्यारी पेजसँग भएको कुराकानी पनि स्मरण गर्दै मस्कले   भविष्यमा एआईले कम्प्युटर ह्याकिङमा मानिसलाई निकै पछाडि पार्न सक्ने बताए ।

उद्धार तथा राहतमा युद्धस्तरमा सरकार?

काठमाडौं। भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम सरकारले  युद्धस्तरमा गरिरहेको जनाएको छ। 

सरकारले प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार, राहत तथा पुनःस्थापनाको काम भइरहेको जनाएतापनि अझ प्रभावकारी रुपमा काम हुन नसकेको गुनासो समेत आइरहेको छ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली खोज तथा उद्धारमा परिचालित छन्। 

नेपाली सेनाका अनुसार मंगलबारको अन्तिम विवरणसम्म हेलिकप्टरमार्फत २३ जनाको शव उद्धार गरिएको छ। प्रभावित क्षेत्रका विभिन्न स्थानबाट शव संकलन तथा व्यवस्थापनको कामसमेत भइरहेको सेनाले जनाएको छ।

बाढीमा हाइड्रोपावर आयोजनाका सुरुङमा फसेकाहरूको खोजीलाई पनि तीव्र पारिएको छ। चिलिमे हाइड्रोको सुरुङमा विदेशी विशेषज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली करिब ५० मिटरसम्म प्रवेश गरेर खोजीमा जुटेको छ।

लाङटाङ हाइड्रोको सुरुङमा टोली करिब १५० मिटरसम्म पुगेको छ। त्यस्तै, अपर त्रिशूली–१ को सुरुङमा करिब २०० मिटरसम्म प्रवेश गरेर खोजी गरिए पनि हालसम्म उद्धार हुन सकेको छैन।

त्रिशूली–३ ‘ए’ मा सुरुङको हेड पत्ता लगाएर कम्प्रेसरमार्फत हावा पठाउने काम भइरहेको छ। सुरुङभित्र जमेको पानी निकाल्ने प्रयास जारी छ। तीनवटा एक्साभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ भने ढुंगा फुटाएर सुरुङभित्र प्रवेश गर्ने बाटो बनाउने काम भइरहेको छ।

त्रिशूली–३ ‘बी’ मा पनि विज्ञसहितको सुरक्षाकर्मी टोली परिचालन गरिएको छ। टोलीले सुरुङको प्रवेशद्वार पत्ता लगाएर एक्साभेटरको प्रयोगमार्फत भित्र पस्ने बाटो खोल्ने काम गरिरहेको छ।

बाढीपछि तत्काल गरिएको उद्धार अभियानमा विभिन्न जलविद्युत् आयोजनाबाट २७९ जनालाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ। उद्धार गरिएकामध्ये रसुवागढीबाट २ जना, अपर त्रिशूली–१ बाट ३३ जना, माथिल्लो त्रिशूली–३ ‘ए’ बाट २२१ जना, माथिल्लो त्रिशूली–३ ‘बी’ बाट २ जना, मैलुङबाट ९ जना, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४ जना, त्रिशूली जलविद्युत् आयोजनाबाट ३ जना र देवघाट जलविद्युत् आयोजनाबाट ५ जना छन्।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र पूर्वी नवलपरासीका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजारभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालित छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।

बाढीबाट सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा विभिन्न स्थानमा भेटिएका शव संकलन गर्ने काम पनि निरन्तर भइरहेको छ।

पोखरामा पहिचान नखुलेका ८३ शव जमिनमुनि व्यवस्थापन गरिँदै [तस्वीरहरू]

पोखरा। बाढी प्रभावित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका बेवारिसे शवमध्ये पहिचान हुन नसकेका ८३ शव जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ ।

तनहुँ, गोरखा, धादिङ र पूर्वी नवलपरासीबाट ल्याइएका १ सय २ शवमध्ये १९ वटाको पहिचान खुलेको छ । बाँकी ८३ शवको डीएनए नमुना संकलन तथा ट्यागिङ गरेपछि पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वन क्षेत्रमा व्यवस्थापन गर्न थालिएको हो ।

पहिचान हुन नसकेका शवलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने क्रममा सम्बन्धित विवरण र नमुना सुरक्षित राखिने जनाइएको छ ।

 

तस्वीर : नेपाल फोटो लाइब्रेरी

टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा फेला

काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको छ ।

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोरखाको गण्डकी गाउँपालिका–८, भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको हो ।

हुम्लाको ताँजाकोट गाउँपालिका–२ घर भएका शर्मा भदौ ९ गते रसुवा भन्सार कार्यालयमा हाजिर भएका थिए । कार्यालयमा हाजिर भएको भोलिपल्टै भोटेकोशीमा आएको बाढीपछि उनी बेपत्ता भएका थिए ।

गोरखाको प्रादेशिक अस्पतालमा राखिएको शवको पहिचान शारीरिक बनावट, अनुहार, दाह्री–कपाल, हातको बुढीऔँलामा रहेको पुरानो खत तथा दाँतको बनावटलगायतका आधारमा गरिएको हो ।

पहिचान खुलेपछि आफन्तले शव बुझेका छन् । शर्माको खोजीमा परिवारका सदस्यहरू चितवन, नवलपरासी, गोरखा हुँदै पोखरासम्म पुगेका थिए ।

शर्माका बुवा, आमा, श्रीमती र दुई छोरा छन् । उनी यसअघि इलामको पशुपतिनगर भन्सार कार्यालयमा कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बाढीपछि गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा मात्रै हालसम्म ६५ जनाको शव फेला परिसकेको छ ।

बाढीपीडितका लागि कांग्रेस सांसद गुरुङको एक लाख ११ हजार १११ सहयोग

काठमाडौं। पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि प्रधानमन्त्री राहत उद्धार कोषमा एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

गुरुङले मंगलबार प्रधानमन्त्री राहत उद्धार कोषमा उक्त रकम पठाएका हुन् । हालै नुवाकोटको त्रिशूली नदीको बाढीबाट प्रभावित ढुंगेबजार र देवीघाट क्षेत्रको स्थलगत अनुगमन गरी फर्किएलगत्तै उनले राहतस्वरूप नगद सहयोग गरेका हुन् ।

स्थलगत अनुगमनका क्रममा बाढीले त्रिशूली तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको देखिएको गुरुङले बताएका छन् । उनले भोटेकोशी र त्रिशूली नदीले पुल बगाउँदा तथा सडक पूर्ण रूपमा क्षतिग्रस्त हुँदा स्थानीयको आवतजावतमा गम्भीर समस्या परेको उल्लेख गरे ।

तत्कालका लागि नदी वारिपारि गर्न तुइनको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन् । पुल र सडक पुनर्निर्माणमा समय लाग्ने भएकाले प्रभावित नागरिकको आवागमन सहज बनाउन अस्थायी रूपमा तुइन सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाको कामलाई सरकारले थप प्रभावकारी बनाउनुपर्ने गुरुङले बताएका छन्।

बादशाह र ईशा रिखीले गरे सम्बन्ध विच्छेद

काठमाडौं। भारतीय र्‍यापर बादशाह र पञ्जाबी अभिनेत्री ईशा रिखीले विवाह भएको पाँच महिनामै सम्बन्ध विच्छेद गरेका छन्।

सोमबार राति आ-आफ्नो इन्स्टाग्राममार्फत दुवैले सम्बन्धबाट अलग भएको जानकारी दिएका हुन्।

बादशाहले आफूहरूबीचको निर्णय आपसी सहमतिमा भएको बताएका छन्। उनले अहिलेको अवस्थामा आफ्नो निजी जीवनको सम्मान गरिदिन आग्रह गर्दै सम्बन्धबारे थप अनुमान नगर्न प्रशंसक तथा सञ्चारमाध्यमलाई अनुरोध गरेका छन्।

उनले सामाजिक सञ्जालमा आफू र ईशा एकअर्काप्रति सम्मान कायम राख्दै आ-आफ्नो बाटोमा अघि बढेको उल्लेख गरेका छन्।

सम्बन्धविच्छेदबारे यही नै आफूहरूको पहिलो र अन्तिम धारणा भएको भन्दै थप टिप्पणी वा अड्कलबाजी नगर्न उनले आग्रह गरेका हुन्।

ईशाले पनि बादशाहको पोस्ट आफ्नो इन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छन्। पछिल्ला केही सातादेखि दुवैबीच सम्बन्धमा समस्या आएको चर्चा चल्दै आएको थियो।

ईशा रिखी पञ्जाबी फिल्म उद्योगमा परिचित अभिनेत्री तथा मोडल हुन्। उनले सन् २०१३ मा ‘जट्ट ब्वाय पुट जट्टा दी’बाट अभिनय यात्रा सुरु गरेकी थिइन्।

त्यसपछि उनले ‘ह्याप्पी गो लक्की’, ‘बडे चेन्ज मेरे यार कमिने’, ‘ह्वाट द जट्ट’ र ‘अर्दास’ लगायतका पञ्जाबी फिल्ममा अभिनय गरिन्। सन् २०१८ मा ‘नवाबजादे’मार्फत बलिउडमा समेत प्रवेश गरेकी थिइन्।

बादशाह र ईशाबीच खटपट सुरु भएको चर्चा भने जुलाईदेखि नै सार्वजनिक हुन थालेको थियो। जुलाई २६ मा ईशाले बादशाहसँगका केही तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा राख्दै भावुक सन्देश दिएकी थिइन्।

त्यसपछि उनले अर्को पोस्टमार्फत लामो समय डरका कारण मौन बसेको तर अब आत्मसम्मानका लागि बोल्न थालेको संकेत गरेकी थिइन्। यी पोस्टपछि उनीहरूको सम्बन्धबारे विभिन्न अड्कलबाजी हुन थालेका थिए।

यसअघि जुन महिनामा इन्स्टाग्राममा आयोजित ‘आस्क मी एनीथिङ’ सेसनका क्रममा ईशाले बादशाहसँगको विवाहबारे पुष्टि गरेकी थिइन्। यद्यपि, विवाहपछि दुवैले आफ्नो सम्बन्धलाई सार्वजनिक रूपमा धेरै चर्चा गरेका थिएनन्।

बादशाहको यो पहिलो वैवाहिक सम्बन्धविच्छेद भने होइन। उनले यसअघि सन् २०१२ मा जस्मिन मसिहसँग पनि विवाह गरेका थिए। उनीहरूबाट सन् २०१७ मा छोरी जन्मिएकी थिइन्। तर सम्बन्धमा आएको दरारपछि सन् २०२० मा दुवै अलग भएका थिए।

दुई महिनाको बच्चा र परिवारको स्याफ्रुवेंशीबाट उद्धार, काठमाडौँ लगियो [तस्वीरहरू]

काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित रसुवाको स्याफ्रुबेँसीबाट दुई महिनाको शिशुसहित एक परिवारको उद्धार गरिएको छ ।

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका उनीहरूलाई सुरुमा सदरमुकाम धुन्चे ल्याइएको थियो । त्यहाँबाट थप व्यवस्थापनका लागि परिवारलाई काठमाडौं ल्याइएको हो।

रसुवामा बाढीपछि प्रभावित तथा जोखिममा रहेका नागरिकको उद्धार कार्य जारी छ । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन भएका छन्।

यस्तै, भारत, चीन र दक्षिण कोरियाबाट आएका विशेषज्ञ टोलीसमेत प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यमा खटिएका छन् ।


तस्वीर: नेपाल फोटो लाइब्रेरी

महाविपत्तिमाथि बहस गर्न संसद बैठक भोलि बस्दै

काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलि बस्ने भएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलिका लागि बैठक आह्वान गर्ने निर्णय गरेको हो ।

भोलिको बैठकमा सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशीसहित देशका विभिन्न क्षेत्रमा भएको विनाशकारी बाढी तथा त्यसबाट भएको क्षतिबारे विशेष प्रस्ताव पेस गर्ने भएका छन् ।

उक्त प्रस्तावमाथि संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूले धारणा राख्नेछन् ।

बाढीका कारण ठूलो मानवीय क्षतिसँगै सडक, पुल, बस्ती र जलविद्युत् आयोजनामा व्यापक क्षति पुगेपछि संसद्को नियमित कामसमेत प्रभावित भएको हो।

बाढी अपडेट : ज्यान गुमाउनेको संख्या ९८७ पुग्यो

रसुवा। रसुवा बाढीका कारण ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अन्तिम विवरण अनुसार ९८७ जनाको शव फेला परेको हो।  

सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। यस्तै, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ।

सम्पर्कविहीनको संख्या तीन हजार ९१६ पुगेको छ ।  तीमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल, नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका तीन जना कर्मचारी  रहेका छन्।

हर्क-सुदनबीच बढ्यो दूरी, श्रम संस्कृति पार्टीको बैठकमा किराती समूहलाई बोलाइएन

काठमाडौं। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक आज धरानस्थित होटल गोर्खामा बस्दैछ। पूर्वमन्त्री सुदन किराती नेतृत्वको समूहसँग पार्टी एकता भएको चार महिनापछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागे पनि किराती समूहलाई भने बैठकमा बोलाइएको छैन।

चार महिनाअघि किराती वरिष्ठ नेता बन्ने गरी श्रम संस्कृति पार्टीसँग एकता गरेका थिए। त्यस क्रममा किराती समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यसहित १८ जना नेता श्रम संस्कृति पार्टीमा समाहित भएका थिए। एकताअघि २३ सदस्यीय रहेको पार्टीको केन्द्रीय कमिटी एकतापछि ४१ सदस्यीय बनेको थियो।

पार्टी एकतापछि अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत सुदन किरातीलाई कोशी प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने घोषणा गरेका थिए। किराती निकट एक नेताका अनुसार त्यतिबेला भावी मुख्यमन्त्रीको उम्मेदवारका रूपमा किरातीको नाम पार्टीभित्र करिब सर्वसम्मतजस्तै थियो।

तर, अहिले आएर साम्पाङले किराती समूहलाई नै केन्द्रीय कमिटी बैठकमा नबोलाएपछि दुई पक्षबीचको दूरी सतहमा आएको छ। पछिल्लो समय साम्पाङको सामाजिक सञ्जाल केन्द्रित गतिविधिप्रति किराती असन्तुष्ट रहँदै आएको उनी निकट नेताहरू बताउँछन्। पार्टीभित्रको विवाद बढ्दै जाँदा एकतासमेत संकटमा पर्न सक्ने अवस्था आएको उनीहरूको दाबी छ।

स्रोतका अनुसार श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक बस्न लागेको जानकारीसमेत किरातीलाई औपचारिक रूपमा दिइएको थिएन। साम्पाङ र किरातीबीच प्रत्यक्ष सम्पर्क नभएको पनि लामो समय भइसकेको बताइएको छ।

साम्पाङसँग सम्पर्क हुन नसकेपछि आफूहरूलाई बैठकमा नबोलाउनुको कारणबारे किरातीले पार्टीका अन्य नेताहरूसँग जानकारी लिएका थिए। उनी निकट नेताहरूका अनुसार अन्य नेताहरूले आजको बैठकमा पार्टी एकताको निर्णय अनुमोदन गर्ने र त्यसपछि भोलिदेखि एकीकृत केन्द्रीय कमिटीको बैठक बस्ने जवाफ दिएका छन्।

तर, उक्त जवाफबाट किराती भने आश्वस्त हुन सकेका छैनन्। स्रोतका अनुसार उनले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्र विकसित परिस्थितिबारे आफू निकट नेताहरूसँग छलफलसमेत थालेका छन्।

यससँगै चार महिनाअघि भएको श्रम संस्कृति पार्टी र किराती समूहबीचको एकता अहिले फेरि विवादमा परेको छ।

उपकरण अभाव : त्रिशूली आयोजना सुरुङमा पुगेको कोरियन उद्धार टोली फर्कियो

रसुवा। माथिल्लो त्रिशूली आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाल आएको कोरियन विज्ञ टोली आवश्यक उपकरण अभावमा काम अघि बढाउन नसकी फिल्डबाट धुन्चे फर्किएको छ ।

सुरुङमा जमेको लेदो तथा भग्नावशेष हटाउन मिनी स्काभेटर र मड पम्प आवश्यक पर्ने भए पनि ती उपकरण उपलब्ध नभएपछि टोलीले तत्काल उद्धारको काम सुरु गर्न नसकेको हो ।

उद्धारका लागि फिल्डमा पुगेको कोरियन टोलीले स्थलगत अवस्थाको निरीक्षण गर्यो। तर आवश्यक उपकरण नभएका कारण सुरुङभित्र प्रवेश गरी काम अघि बढाउन सम्भव भएन। त्यसपछि टोली धुन्चे फर्किएको बताइएको छ ।

सुरुङमा फसेकाहरूको उद्धारका लागि यसअघि नै नेपाली सुरक्षाकर्मी तथा प्राविधिक टोली परिचालन भएका थिए।  लेदो र भग्नावशेषका कारण उद्धार चुनौतीपूर्ण बनेको थियो।

यद्यपि,आवश्यक उपकरण व्यवस्थापन गरी उद्धार कार्यलाई अघि बढाउने तयारी भइरहेको छ ।

तस्वीरहरू :

नेपाल फोटो लाइब्रेरी

कर्णाली प्रदेशले बाढीपिडितलाई दुई कराेड सहयाेग गर्ने

काठमाडौं। कर्णाली प्रदेश सरकारले रसुवा बाढीमा प्रभावित भएकाहरूका लागि दुई कराेड रुपैयाँ सहयाेग गर्ने भएकाे छ ।

१० भदाैमा रसुवास्थित भाेटाेकाेसीमा आएकाे विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना तथा क्षेतिग्रस्त संरचनाको पुनर्निर्माणमा कर्णालीले उक्त रकम सहयोग गर्न लागेको हो। 

विपद व्यवस्थापनमा मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले कर्णाली सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड जम्मा गर्ने निर्णय गरेकाे छ ।

बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको शिक्षा क्षेत्र योजना २०८३–२०९२ लाई स्वीकृत गर्ने निर्णयसमेत गरेकाे छ ।

बाढीपछि रसुवा, नुवाकाेट र धादिङ रुसुवालगायतका जिल्लामा अतुलनीय जनधनकाे क्षति भएकाे छ।

संसद रोकियो, क्यालेन्डर अलपत्र; विधेयकदेखि प्रश्नोत्तरसम्म ठप्प

काठमाडौं। प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि संसद्को पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ।

संसदीय क्यालेन्डरअनुसार सोमबार र मंगलबार प्रतिनिधिसभाको बैठक बस्ने तय भए पनि दुवै दिन बैठक हुन सकेन । अब प्रतिनिधिसभाको बैठक कहिले बस्ने भन्ने विषयसमेत टुंगो लागेको छैन ।

संघीय संसद् सचिवालयले भदौ १० गते सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको थियो । त्यसयता संसद् बैठक सञ्चालनको नयाँ मिति तय हुन सकेको छैन । बैठक रोकिँदा संसद्का नियमित कामकारबाहीसँगै क्यालेन्डरमा समावेश विधेयक, सम्झौता तथा प्रश्नोत्तर कार्यक्रमसमेत प्रभावित भएका छन् ।

संसदीय क्यालेन्डरअनुसार सोमबार प्रतिनिधिसभाको बैठक बसेको भए कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । त्यसपछि सांसदहरूका लागि शून्य समय सञ्चालन गर्ने तथा विभिन्न मन्त्रालय र निकायसँग सम्बन्धित वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने सम्भावित कार्यक्रम पनि राखिएको थियो ।

तर बैठक नै स्थगित भएपछि सोमबारका लागि तय गरिएका यी काम अघि बढ्न सकेनन् । विधेयकमाथिको प्रक्रिया अगाडि नबढ्दा त्यससँग सम्बन्धित आगामी संसदीय कामकारबाहीसमेत प्रभावित हुने देखिएको छ ।

त्यस्तै, मंगलबारका लागि पनि प्रतिनिधिसभामा महत्वपूर्ण विषय समेटिएको थियो । क्यालेन्डरअनुसार संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता माथि सामान्य छलफल गर्ने कार्यक्रम थियो ।

मंगलबारकै सम्भावित कार्यसूचीमा शून्य समय र विशेष समय सञ्चालन गर्ने तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित सांसदका प्रश्नको जवाफ दिने प्रश्नोत्तर कार्यक्रम पनि राखिएको थियो । बैठक नबसेपछि यी कार्यक्रम पनि अघि बढ्न सकेनन् ।

प्रतिनिधिसभाको बैठक नियमित रूपमा सञ्चालन हुन नसकेपछि अब क्यालेन्डरअनुसार तय भएका आगामी कार्यक्रम कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उठेको छ । यस विषयमा छलफल गर्न प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

सिंहदरबारमा बस्ने समितिको बैठकले प्रतिनिधिसभाको बैठक पुनः बोलाउने मिति, बाँकी कार्यसूची र स्थगित भएका कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्नेछ । बैठकको नयाँ मिति तय भएपछि यसअघि छुटेका कार्यसूचीलाई प्राथमिकताका आधारमा समायोजन गर्ने तयारी छ ।

यसअघि तयार गरिएको संसदीय क्यालेन्डरमा आगामी बैठकका दिन र सम्भावित कार्यसूचीसमेत निर्धारण गरिएको थियो । त्यसमध्ये बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि समावेश थियो ।

संसदीय क्यालेन्डरको उद्देश्य प्रतिनिधिसभाको कामकारबाहीलाई नियमित, व्यवस्थित र पूर्वानुमानयोग्य बनाउनु भए पनि बैठक नै अनिश्चितकालका लागि रोकिएपछि त्यसको प्रभाव प्रत्यक्ष रूपमा देखिएको छ ।

विधेयक अघि बढाउनेदेखि सांसदका प्रश्न, शून्य तथा विशेष समय र सरकारका प्रतिवेदन पेस गर्ने कामसम्म प्रभावित भएका छन्।

आफन्तको उद्धारको आसमा श्रीनाथ गणबाहिर पीडितको भीड [तस्वीरहरू]

रसुवा । भोटेकोशी बाढीबाट प्रभावित परिवारका सदस्यहरू आफन्तको उद्धार हुने आशामा रसुवास्थित श्रीनाथ गणबाहिर कुरेर बस्ने गरेका छन् ।

विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा आफन्त फसेको भन्दै उनीहरूले तत्काल उद्धार गरिदिन सुरक्षाकर्मी र सम्बन्धित निकायसँग आग्रह गरिरहेका छन् । आफन्तको अवस्था अज्ञात भएपछि कतिपय परिवार चिन्तित हुँदै गणबाहिर उद्धारको खबर पर्खिरहेका छन् ।

बाढीबाट उद्धार गरिएका व्यक्तिहरूलाई नेपाली सेनाले श्रीनाथ गणमा ल्याउने भएकाले पनि आफन्त तथा प्रभावितहरूको यहाँ भीड लाग्ने गरेको छ ।

उद्धार टोलीबाट आउने हरेक खबरले उनीहरूमा आफन्त भेटिने आशा जगाउने गरेको छ ।

 

‘म युक्रेन–रुस युद्ध अन्त्य गर्ने पक्षमा छु’

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार द्विपक्षीय भेटवार्ता भएको छ। किर्गिस्तानको राजधानी बिस्केकमा जारी सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ता भएको हो।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, द्विपक्षीय सहकार्य तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल भएको बताइएको छ। विशेषगरी युक्रेनमा जारी युद्ध र त्यसले विश्वमा पारिरहेको प्रभावका विषयमा मोदीले आफ्नो धारणा राखेका थिए।

मोदीले रुस र युक्रेनबीच लामो समयदेखि जारी युद्ध तत्काल अन्त्य गरी शान्तिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले युद्धका कारण मानव जीवनमा परेको असरप्रति चिन्ता व्यक्त गर्दै युद्धको प्रत्येक दिनले मानवतालाई थप पछाडि धकेलिरहेको बताएका छन्।

मोदीले भने, ‘म युक्रेन र रुसबीच जारी युद्ध अन्त्य गर्ने पक्षमा छु, किनकि युद्धका हरेक दिनले मानवतालाई पछाडि धकेलिरहेका छन्।’

उनले भारतले सुरुदेखि नै युक्रेन संकटको शान्तिपूर्ण समाधानको पक्षमा आफ्नो धारणा राख्दै आएको स्मरण गराए। भारतले युद्धको अन्त्यका लागि हुने हरेक शान्ति प्रयासलाई समर्थन गर्दै आएको र आगामी दिनमा पनि त्यस्तो प्रयासलाई निरन्तर समर्थन गर्ने मोदीको भनाइ थियो।

मोदीले युक्रेनको अवस्थाबारे यसअघि पनि पुटिनसँग पटकपटक छलफल भएको उल्लेख गर्दै दुई नेताबीच भएको अघिल्लो भेटवार्तालाई समेत स्मरण गरेका थिए। उनका अनुसार अघिल्लो भेटमा पुटिनले युक्रेनको अवस्थासहित सम्बन्धित विषयमा भारतलाई विस्तृत जानकारी गराएका थिए।

उनले भने, ‘हामीले सधैँ युक्रेन मुद्दामा छलफल गरेका छौँ। युक्रेनको अवस्थाबारे छलफल गरेका छौँ। जब हामी अन्तिमपटक भेटेका थियौँ, तपाईंले मलाई सबै मुद्दामा विस्तृत रूपमा जानकारी दिनुभएको थियो।’

भारतले शान्तिका लागि हुने प्रयासलाई निरन्तर समर्थन गर्ने स्पष्ट पार्दै मोदीले युद्धको अवस्थाबाट शान्तिको दिशातर्फ अघि बढ्नुपर्नेमा जोड दिए।

उनले भने, ‘युद्धका हरेक दिनले मानवतालाई पछाडि धकेल्छ भने शान्तितर्फ चालिएका हरेक कदमले नयाँ आशा सिर्जना गर्छ। हामीले अन्तहीन युद्धबाट युद्ध अन्त्यतर्फ जानुपर्छ। यो मानव कल्याणका लागि आवश्यक छ।’

मोदीले युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा उत्पन्न मानवीय संकट, आर्थिक असर र अस्थिरताप्रति समेत संकेत गर्दै शान्ति स्थापनाका लागि निरन्तर संवाद र कूटनीतिक प्रयास आवश्यक रहेको धारणा राखेका छन्।

भेटका क्रममा मोदीले पुटिनको अघिल्लो भारत भ्रमणको पनि स्मरण गरेका थिए। उनले उक्त भ्रमणलाई सफल र अविस्मरणीय भन्दै त्यसले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।

मोदीले भने, ‘गत वर्ष तपाईंको भारत भ्रमण धेरै सफल र साँच्चै अविस्मरणीय रह्यो। हाम्रा लागि यो ठूलो सन्तुष्टिको कुरा हो।’

उनले भारत र रुसबीचको सम्बन्ध पछिल्लो समय थप उचाइमा पुगिरहेको दाबी गर्दै दुई देशका जनताको हितलाई केन्द्रमा राखेर सहकार्य अघि बढिरहेको बताए। दुवै देशले आफ्नो राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै सहकार्य गर्दै आएको र भविष्यमा पनि यही दृष्टिकोण दुई देशबीचको सम्बन्धको मार्गदर्शक सिद्धान्त बन्ने मोदीको भनाइ थियो।

उनका अनुसार भारत र रुसबीच राजनीतिक तथा कूटनीतिक सम्बन्धसँगै व्यापार, ऊर्जा, प्रविधि, सुरक्षा र अन्य क्षेत्रमा समेत सहकार्य विस्तार हुँदै गएको छ। आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने दिशामा दुवै देशले काम गर्ने उनले बताए।

भेटका क्रममा मोदीले केही दिनपछि भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गर्न लागेको जानकारीसमेत पुटिनलाई गराएका थिए। उनले ब्रिक्स सम्मेलनमा सहभागी हुन रुसका राष्ट्रपति तथा उनको प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्न आफूहरू आतुर रहेको बताएका थिए।

मोदीले पुटिनलाई भने, ‘सबै भारतीय तपाईं र तपाईंको प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्न आतुर छन्। तपाईंको भ्रमणले हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनेछ र ब्रिक्सभित्र संवाद तथा सहयोगलाई पनि मजबुत पार्नेछ।’

ब्रिक्सको आगामी सम्मेलनलाई विश्वव्यापी आर्थिक तथा राजनीतिक विषयमा छलफल गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिँदै मोदीले यसबाट सदस्य राष्ट्रबीचको सहकार्य र संवाद थप विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

जवाफमा रुसी राष्ट्रपति पुटिनले पनि रुस र भारतबीचको सम्बन्ध निरन्तर बलियो हुँदै गएकोप्रति खुसी व्यक्त गरे। उनले दुई देशबीच विकसित हुँदै गएको व्यावसायिक तथा मैत्रीपूर्ण सम्बन्धमा प्रधानमन्त्री मोदीको विशेष ध्यान र योगदान महत्वपूर्ण रहेको बताए।

पुटिनले भने, ‘रुस–भारत सम्बन्ध र हामीबीच विकसित व्यावसायिक र मैत्रीपूर्ण सम्बन्धमा तपाईंको विशेष ध्यानले योगदान पुर्‍याएको छ। यसका लागि म तपाईंप्रति धेरै आभारी छु।’

पुटिनले भारतसँगको सम्बन्धलाई रुसले उच्च प्राथमिकतामा राख्दै आएको संकेत गर्दै दुई देशबीचको सहकार्य आगामी दिनमा पनि निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

दुई नेताबीचको पछिल्लो भेटलाई रुस–भारत सम्बन्धका साथै युक्रेन युद्धको विषयमा भारतको शान्ति केन्द्रित कूटनीतिक भूमिकाका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ। भारतले रुससँग आफ्नो परम्परागत सम्बन्ध कायम राख्दै युक्रेन युद्धको समाधान संवाद र कूटनीतिक माध्यमबाट खोजिनुपर्ने धारणा निरन्तर दोहोर्‍याउँदै आएको छ।

यस भेटवार्तामा मोदीले युद्ध अन्त्य र शान्ति स्थापनाको आवश्यकता स्पष्ट रूपमा उठाएसँगै भारतले युक्रेन संकटमा आफ्नो सन्तुलित कूटनीतिक धारणा कायम राखेको सन्देश दिएका छन्।

रविले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले भोटेकोसी बाढीबाट भएको क्षति, जारी खोजी तथा उद्धार अभियान र प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ।

भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि उद्धार तथा खोजी कार्य अझै चुनौतीपूर्ण अवस्थामा रहेको छ। बाढीका कारण सडक, पुल, जलविद्युत् आयोजना, विद्युत् संरचना तथा अन्य भौतिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ। कतिपय प्रभावित क्षेत्र अझै सहज रूपमा सम्पर्कमा आउन नसकेको अवस्थामा उद्धार, राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउने विषय बैठकको प्रमुख एजेन्डा रहने बताइएको छ।

बैठकमा बाढीबाट भएको वास्तविक क्षतिको विवरण संकलन, बेपत्ता नागरिकको खोजी, उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उपाय, प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने विषयमा दलहरूबीच साझा धारणा बनाउने प्रयास गरिनेछ।

त्यस्तै, दीर्घकालीन रूपमा बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माण कसरी अघि बढाउने भन्ने विषयमा समेत छलफल हुने जनाइएको छ। प्राकृतिक विपद्पछि तत्काल उद्धार र राहतसँगै प्रभावित बस्ती, सडक, पुल, विद्युत् तथा जलविद्युत् संरचनाको पुनर्निर्माणका लागि आवश्यक स्रोत र राज्यको प्राथमिकताबारे पनि दलहरूबीच साझा प्रतिबद्धता जुटाउने तयारी छ।

नेपालमा सामान्यतया सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउने राजनीतिक अभ्यास रहँदै आएको छ। तर यसपटक प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को सक्रियता कमजोर देखिएको भन्दै रास्वपा सभापति लामिछानेले राजनीतिक तहबाट पहल अघि बढाएका हुन्।

यसअघि पनि लामिछानेले भोटेकोसी बाढीको अवस्था र उद्धार तथा राहतबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए। तर उक्त बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह स्वयं उपस्थित भएका थिएनन्। त्यसपछि सरकारको विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी भूमिकालाई लिएर राजनीतिक वृत्तमा प्रश्नसमेत उठेको थियो।

यसपटक भने बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतलाई केन्द्रमा राखेर सबै राजनीतिक दललाई एउटै धारणा बनाउन बैठक बोलाइएको रास्वपाले जनाएको छ। बैठकमा विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर सरकार, राजनीतिक दल र सम्बन्धित निकायबीच समन्वय बलियो बनाउनुपर्ने विषयमा जोड दिइने अपेक्षा गरिएको छ।

रास्वपाका अनुसार बैठकको मुख्य उद्देश्य भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत र उद्धारमा सहयोग पुग्ने गरी राजनीतिक दलहरूबीच साझा प्रतिबद्धता निर्माण गर्नु हो। बाढीपछि विभिन्न स्थानमा नागरिक सम्पर्कविहीन हुनुका साथै कतिपय जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको अवस्थासमेत अझै स्पष्ट हुन नसकेको अवस्थामा खोजी तथा उद्धार अभियानलाई तीव्रता दिनुपर्ने आवश्यकता देखिएको छ।

बैठकमा विपद्को समयमा राज्यका सबै संयन्त्रलाई एकीकृत रूपमा परिचालन गर्ने, प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने, घाइते तथा विस्थापितको व्यवस्थापन गर्ने र बेपत्ताको खोजीलाई प्राथमिकतामा राख्ने विषयमा पनि छलफल हुने बताइएको छ।

लामिछानेले बोलाएको बैठकलाई भोटेकोसी बाढीबाट उत्पन्न संकटमा सरकार र राजनीतिक दलबीच समन्वय बढाउने प्रयासका रूपमा हेरिएको छ। सबै दलको साझा प्रतिबद्धता तयार पारेर उद्धार, राहत र पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउने रास्वपाको तयारी छ।

२७ जिल्लामा बाढीको जोखिम, नुवाकोट र रसुवामा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका विभिन्न जिल्लामा आज साना नदी तथा खोलाको जलसतह बढ्ने सम्भावना देखिएसँगै आकस्मिक बाढीको जोखिम बढेको छ। विशेषगरी नुवाकोट र रसुवामा बाढीको जोखिम उच्च रहेकाले स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

नेपाल बाढी सूचनाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, गोरखा, लमजुङ, डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुरका आसपासका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

यी जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दा आकस्मिक बाढी आउन सक्ने भएकाले मध्यम जोखिम रहेको सूचनामा उल्लेख छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने तथा नदी, खोला र खोल्साको आसपास आवतजावत गर्ने नागरिकलाई सतर्कता अपनाउन भनिएको छ।

यस्तै, नुवाकोट र रसुवामा भने साना नदी तथा खोलामा पानीको बहाव अझ तीव्र रूपमा बढ्न सक्ने भएकाले आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाइएको छ।

पछिल्लो समय बाढीपहिरोका कारण विभिन्न क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति भइरहेकाले जोखिमयुक्त नदी तथा खोलाको आसपास विशेष सावधानी अपनाउन र सम्भावित विपद्का संकेत देखिए तत्काल सुरक्षित स्थानतर्फ जान सम्बन्धित निकायले आग्रह गरेको छ।

विपद्पछि पुनर्निर्माण होइन, विपद् थेग्ने विकास आवश्यक : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले नेपालमा प्राकृतिक विपद् आएपछि क्षति भएको संरचना पुनःनिर्माण गर्ने पुरानै शैलीलाई अन्त्य गर्दै विपद् प्रतिरोधी विकास प्रणाली निर्माण गर्नुपर्ने बताएकी छन्।

मन्त्री गौतमले सामाजिक सञ्जालमार्फत नेपालले अब हरेक विपद्पछि पुनर्निर्माणमा मात्र केन्द्रित हुनेभन्दा विपद्को जोखिम घटाउने र त्यसको प्रभाव थेग्न सक्ने पूर्वाधार तथा विकासको मोडल अपनाउनुपर्ने धारणा सार्वजनिक गरेकी हुन्।

उनका अनुसार बाढी, पहिरो, भूकम्प तथा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई पूर्णरूपमा रोक्न सम्भव नभए पनि त्यसबाट हुने क्षति न्यून गर्ने गरी राज्यको विकास नीति परिवर्तन गर्न सकिन्छ।

‘विपद्पछि पुनर्निर्माण गर्ने चक्रबाट बाहिर निस्केर विपद् सहन सक्ने गरी नेपालको विकासको ढाँचा नै पुनर्लेखन गर्नुपर्ने समय आएको छ,’ उनले भनेकी छन्।

नदीको बहाव रोक्न, हिमाल तथा हिमनदीलाई नियन्त्रण गर्न वा विश्वव्यापी जलवायु परिवर्तनलाई नेपालले एक्लै रोक्न नसक्ने उल्लेख गर्दै गौतमले जोखिमको सामना गर्न सक्ने सक्षम र उत्थानशील नेपाल निर्माण गर्न भने सकिने बताएकी छन्।

कानुन सुधार समितिमा समेत आफूले यही विषय उठाउँदै आएको उल्लेख गर्दै उनले विपद् व्यवस्थापन र जलवायु उत्थानशीलतालाई छुट्टै कानुनी वा नीतिगत विषयका रूपमा मात्र हेरेर नपुग्ने बताइन्।

उनले अबदेखि विकाससँग सम्बन्धित हरेक कानुन, नीति, योजना र पूर्वाधार निर्माणमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशीलतालाई अनिवार्य आधार बनाइनुपर्नेमा सरकार स्पष्ट रहेको बताएकी छन्।

मन्त्री गौतमले पछिल्लो एक दशकभन्दा लामो समयदेखि नेपालले लगातार ठूला प्राकृतिक विपद्को सामना गरिरहेको स्मरण गर्दै प्रत्येक घटनापछि ठूलो जनधन तथा भौतिक संरचनाको क्षति हुने र राज्यले पुनः शून्यबाट विकास सुरु गर्नुपर्ने अवस्था दोहोरिन नहुने बताइन्।

उनले सिन्धुपाल्चोकको जुरे पहिरोदेखि २०७२ सालको भूकम्प, तातोपानी–भोटेकोशी क्षेत्रमा भएका बाढीपहिरो, मेलम्ची–इन्द्रावतीको बाढी, सुनकोशी र रोशी खोलामा आएका बाढी, सोलुखुम्बुको थामेमा आएको बाढी तथा जाजरकोट भूकम्पसम्मका घटनाले नेपालमा विपद्को जोखिम कति गम्भीर छ भन्ने देखाएको बताइन्।

यस्ता घटनाबाट हुने क्षति घटाउन तत्काल राहत र पुनर्निर्माणमा मात्र सीमित नभई दीर्घकालीन रूपमा सुरक्षित बस्ती, बलिया पूर्वाधार र जोखिमअनुकूल विकास प्रणाली निर्माण गर्नुपर्नेमा उनको जोड छ।

‘भोलि घर आउँछु’ भनेका मङ्गलाका ज्वाइँ ६ दिनदेखि बेपत्ता

काठमाडौं।

‘भोलि घर आउँछु, बच्चाहरूको फी हिसाब गरेर राख्नु’

रसुवामा बाढी आउनुअघि मङ्गला श्रेष्ठका ज्वाइँले घरमा फोन गरेर भनेका यी शब्द अहिले परिवारको कानमा बारम्बार गुञ्जिरहेका छन्। घर आउने तयारीमा रहेका ज्वाईंले छोराछोरीको स्कुल फी र कोठाभाडाको हिसाबसमेत गरेर राख्न भनेका थिए।

त्यो कुराकानी भएको केही समयपछि उनको फोन स्वीच अफ भयो।

त्यसयता ६ दिन बितिसकेको छ। मोबाइल स्विच अफ छ। परिवारलाई उनी कहाँ छन् भन्ने कुनै खबर छैन।

मङ्गला आफ्ना ज्वाइँको खोजीका लागि अहिले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको कार्यालयसम्म पुगिन्। अन्य ठाउँमा उद्धारको प्रयास भइरहँदा आफ्ना ज्वाइँ रहेको भनिएको टनेलमा किन खोजी भएन?  यहि प्रश्न लिएर उनि कार्यालय पुगेकी हुन्।

घटना हुनुअघि बिहान करिब ८ बजे ज्वाइँले घरमा फोन गरेका थिए।

मङ्गलाका अनुसार फोनमा उनले सामान्य कुरा गरे। भोलिपल्ट घर आउने बताएका थिए। छोराछोरीको स्कुल फी र कोठाभाडाको हिसाब गरेर राख्न भनेका थिए।

‘भोलि घर आउँछु म। केटाकेटीको स्कुल फी कति छ हिसाब गरेर राख्नु, कोठाभाडा कति छ हिसाब गरेर राख्नु’ भनेर भनेको रहेछ,’ मङ्गला सम्झिन्छिन्।

त्यो फोन परिवारका लागि सामान्य थियो। कसैलाई अनुमान थिएन त्यसपछि आउने दिनहरू यति लामो र पीडादायी हुनेछन् भनेर।

फोन राखेपछि केही समयपछि फेरि सम्पर्क गर्ने प्रयास भयो। भिडियो कल पनि आएको रहेछ। तर मङ्गलाकी छोरीले त्यो भिडियो कल उठाउन पाइनन्।

त्यसपछि नियमित आउने फोनको प्रतीक्षा सुरु भयो।

दिउँसो १२ बजे फोन आउने बानी थियो।

तर त्यो दिन फोन आएन।

‘१२ बजे जहिले पनि फोन गर्थे रे। त्यो दिन १२ बजे फोन पनि लागेन। त्यो पहिरो गयो भनेपछि उसको मोबाइल स्विच अफ भयो, अहिलेसम्म स्विच अफ नै छ।’

फोन नलागेपछि परिवार आत्तियो। तर विपद्को अवस्था थियो। उद्धार टोली खटिएको होला, सरकारले खोजिरहेको होला भन्ने विश्वासमा परिवारले केही दिन पर्खने निर्णय गर्‍यो।

मङ्गला पनि परिवारलाई सम्झाइरहिन्।

‘काँ के रुन्छस्? तँ पख न नानी, दुई दिन त… दुई–तीन दिन त धैर्य गरौँ न। खोल्छ कि! उहाँहरूले गर्दागर्दै नभ्याएको हुन सक्छ नि।’

तर दुई दिन तीन दिन भयो। तीन दिन पाँच दिन भयो। छैटौँ दिनसम्म पनि कुनै खबर आएन।

बालबालिकाको रुवाइ झन् बढ्दै गयो। बेपत्ता ज्वाइँका तीन सन्तान छन्- दुई छोरी र एउटा छोरा। छोरा भर्खर पाँच–छ वर्षका छन्।

बुबा कहाँ छन् भन्ने उनीहरूलाई थाहा छैन।

‘छोरी रोइ राखेकी छे, मुख सुन्निएको छ। रातभरि रोई छ, रोएको रोइछ।’

बच्चाहरूको अवस्था देखेर मङ्गलाले अब घरमा बसेर मात्र पर्खन नसक्ने महसुस गरिन्।

मङ्गला भन्छिन्, उनीहरू सुरुदेखि नै सरकारसँग विवाद गर्न वा दबाब दिन हतारिएका थिएनन्।

सरकारले प्रयास गरिरहेको छ भन्ने विश्वास थियो।

‘सरकारले प्रयास गरिरहेछ भन्ने कुरामा हामी धैर्य गरिरह्यौँ।’

तर समय बित्दै जाँदा परिवारको धैर्य कमजोर हुँदै गयो।

मङ्गलाका अनुसार आयोजनाको कार्यालयबाट ‘त्यहाँ गइरहेको छ, गइरहेको छ’ भन्ने जवाफ पाइरहेका थिए। तर वास्तविक रूपमा ज्वाइँ रहेको भनिएको टनेलसम्म उद्धार टोली पुगेको आफूहरूले नदेखेको उनी बताउँछिन्।

‘हिजो अस्ति पनि सोध्दाखेरि ‘त्यहाँ गइरहेको छ, गइरहेको छ’ भन्छन्। तर जान त गयो, त्यो टनेलमा चाहिँ गएको रहेनछ।’

उनको भनाइमा आयोजनाको क्षेत्रमा तीन-चारवटा टनेल रहेको आफूले सुनेकी छन्। तीमध्ये ज्वाइँहरू रहेको भनिएको टनेलमा भने मानिस नै नपुगेको उनको गुनासो छ।

‘जहाँ त्यो तीन–चारवटा टनेल परेको ठाउँ हो, त्यहाँ चाहिँ गएकै छैन। त्यहाँ पनि मान्छे परेका छन् त!’

मङ्गलाको आक्रोशको मुख्य कारण यही हो।

उनलाई अन्य टनेलमा भइरहेको उद्धारप्रति गुनासो छैन। तर आफ्ना आफन्त रहेको आशंका गरिएको ठाउँमा पनि उत्तिकै प्रयास हुनुपर्ने उनको माग छ।

‘सबैले त त्यत्रो अहिले एउटै टनेललाई कति प्रयास गरिरहनुभएको छ। त्यो टनेलमा नि प्रयास गर्न जाऔँ न!’

छ दिनसम्म पनि खोजी नभएको अनुभूति भएपछि उनीहरूका लागि प्रत्येक दिन/प्रत्येक घण्टा/मिनेट सेकेन्ड भारी बनेको छ।

‘आज ६ दिन भइसक्यो। हैन? आज न्युज आउला कि, भोलि न्युज आउला कि भन्यो, हेर्‍यो—खाली त्यो डब्लुहरूकै मात्रै आइराखेको छ।’

समाचारमा अरूको उद्धारका विवरण आइरहँदा आफ्ना ज्वाइँको अवस्था भने अज्ञात नै रहेको उनको भनाइ छ।

‘अरूको, त्यसको त आउँदै आउँदैन। मान्छे नै देखेको छैन। त्यो टनेलमा गएकै देखाउँदैन।’

मङ्गला आफूहरूलाई उद्धार टोलीको काममा हस्तक्षेप गर्ने रहर नभएको स्पष्ट पार्छिन्।

यदि खोजी भइरहेको भए परिवारले चुपचाप पर्खने थियो।

‘यहाँ मान्छे पुगेर त्यो खोतालेको भए हुन्थ्यो, खोतल्दै छन्। धेरै टनेल पुरिएको छ, त्यहाँ जान सकेको छैन भनेर हामीले पनि त… उहाँहरूलाई हामी खोज्दाखोज्दै कराउनु पनि हुँदैन भन्ने हुन्थ्यो।’

तर उनीहरूको गुनासो खोजीको कठिनाइप्रति होइन, खोजी सुरु नै नभएकोप्रति हो।

‘तर त्यहाँ जाँदै नगएर, त्यो छुँदै नछोएर पो आज बाध्यताले यहाँ कराउन आएको।’

उनको भनाइमा उद्धार भएको भए परिवारले प्रश्न गर्ने थिएन।

‘गरेको भए त हाम्रो ‘ए, खोतल्दै छ, एक दिन त छ, आफ्नो भाग्यमा छ त सास आउला, आफ्नो भाग्यमा छ त लास त भेट्लान्’ भन्ने हामीलाई थियो नि।’

तर प्रयास नै नभएको महसुस भएपछि उनी कार्यालयसम्म आइपुगेकी हुन्।

मङ्गला आयोजनाको कार्यालयमा आउनुअघि कुनै सरकारी निकायमा औपचारिक रूपमा पुगेकी थिइनन्।

‘गएको छैन।’

सरकारले काम गरिरहेको होला भनेर घरमै बसेर पर्खिएको उनको भनाइ छ।

तर अघिल्लो दिन सामाजिक सञ्जालमा आयोजनाको कार्यालयबाट एउटा भिडियो देखिन्।

त्यसपछि उनले परिवारसँग भनिन्-अब कार्यालयमै पुगेर कुरा गर्नुपर्छ।

‘हिजो यहाँबाट एउटा भिडियो हाल्नुभएको रहेछ फेसबुकमा। मैले हिजो त्यो भिडियो हेरेपछि ‘ए, हामी पनि त्यहाँ गएर कराउनुपर्ने रहेछ भोलि’ भनेर अनि हामी पनि आज आएका हौँ।’

त्यसैले सोमबार उनी कार्यालय पुगेकी हुन्।

 ‘ज्वाइँ त्यहाँ गएको पनि घटना भएपछि मात्रै थाहा भयो’

मङ्गलालाई आफ्ना ज्वाइँ त्यहाँ काममा गएको कुरा पनि घटनापछि मात्र थाहा भएको रहेछ।

उनी इन्जिनियर हुन्। यसअघि काठमाडौंमै साइटमा काम गर्दै आएका थिए।

‘पहिले ज्वाइँ यहीँ काठमाडौंमा साइटमा हुनुहुन्थ्यो। एक महिना जति भयो… कति भयो यहाँ गएको। उहाँ इन्जिनियर नै हुनुहुन्छ।’

कामकै सिलसिलामा उनी रसुवा पुगेका रहेछन्।

तर परिवारलाई उनी त्यहाँ पुगेको विस्तृत जानकारी थिएन।

‘उहाँ त्यहाँ गएको भन्ने मलाई थाहा थिएन। अहिले यो घटना भएपछि मात्रै थाहा भएको।’

उनकी छोरी पनि अहिले घरमा छैनन्। बालबालिकाको पढाइका कारण बजारतिर बसेकी छन्।

घटना भएपछि मात्रै मङ्गलालाई छोरी र नातिनातिना पनि त्यही क्षेत्रमा बस्दै आएको कुरा थाहा भएको उनले बताइन्।

मङ्गलाले पाएको जानकारीअनुसार उनका ज्वाइँ एक्लै थिएनन्।

एउटै गाडीमा ६ जना गएका थिए।

उनीहरू आयोजनाको प्राविधिक काममा संलग्न थिए। ज्वाइँसहित ती ६ जनाकै अवस्था अज्ञात रहेको परिवारले जानकारी पाएको छ।

‘ज्वाइँसँग गाडीमा ६ जना गएका थिए। त्यो ६ जनाको पनि सम्पर्क नै छैन रे।’

उनीहरूको कामअनुसार अलग–अलग जिम्मेवारी भए पनि प्राविधिक कर्मचारीहरू एउटै गाडीमा रहेको जानकारी आफूले पाएको मङ्गला बताउँछिन्।

‘उहाँहरूको इन्जिनियरहरू, साइटको विवरण गर्नेहरू एउटै गाडीमा थियो रे भन्नेसम्म छ। तर उहाँ ६ जनाको सम्पर्क नै छैन रे।’

बेपत्ता भएका ज्वाइँकी श्रीमती र तीन बालबालिका भने कार्यालयसम्म आउन सकेका छैनन्।

कारण- बालबालिकालाई छाडेर आउन सक्ने अवस्था छैन।

‘उहाँको परिवार त आएको छैन। बिचरा बच्चाहरू छन्, छोडेर आउनै मिल्दैन।’

त्यसैले नजिक घर भएकी मङ्गला आफैं आइन्।

उनको घर पनि काठमाडौं उपत्यकाकै क्षेत्रमा भएकाले कार्यालयसम्म आउन तुलनात्मक रूपमा सहज भयो।

‘म त यहीँ नजिक भएर… मेरो घर पनि यहीँ हो। अनि मलाई नजिक भएर ‘जाऊ, जाऊ’ भन्छन्।’

केही दिनसम्म भने उनले पनि परिवारलाई धैर्य गर्न आग्रह गरिन्।

तर अब उनीसँग पर्खने धैर्यता कम हुँदै गएको छ। उनि एउटै प्रश्न गर्छिन् –  ‘छ दिनदेखि सम्पर्कविहीन भएका ६ जनाको खोजी कहिले सुरु हुन्छ?’

तर मङ्गलाको यो प्रश्नको उत्तरहरू भने मौन छन्।

बाढीको विपत्तिमा मृत्यु हुनेको संख्या ९०० नाघ्यो, ४ हजार २०० भन्दा बढी अझै सम्पर्कविहीन

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या कम्तीमा ९०० पुगेको छ। बाढी र त्यससँगै आएको पहिरो तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। पछिल्लो विवरणअनुसार मृतकको संख्या अझै बढ्ने क्रममै रहेको छ भने हजारौँ मानिस अझै सम्पर्कविहीन छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहे पनि भौगोलिक कठिनाइ, क्षतिग्रस्त सडक तथा पुल, तीव्र नदीको बहाव र सञ्चार सम्पर्कमा आएको अवरोधका कारण उद्धारकर्मीहरूलाई निकै कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्। विशेषगरी नदी किनार, जलविद्युत् आयोजना तथा सुरुङ क्षेत्रमा फसेका मानिसहरूको खोजीलाई प्राथमिकतामा राखिएको छ।

पछिल्लो विवरणअनुसार सम्पर्कविहीन हुने मानिसको संख्या ४ हजार २०० नाघेको छ। बाढीका कारण कतिपय बस्ती पूर्णरूपमा विस्थापित भएका छन् भने परिवारका सदस्यहरू एकअर्कासँग सम्पर्कविहीन बनेका छन्। कतिपय स्थानमा मोबाइल नेटवर्क, विद्युत् र सडक सञ्जाल अवरुद्ध भएकाले प्रभावितहरूको वास्तविक अवस्थाबारे यकिन विवरण संकलन गर्नसमेत कठिन भइरहेको छ।

 

जीवित मानिसको खोजीमा उद्धारकर्मी

बाढी प्रभावित क्षेत्रमा उद्धार टोलीले जीवित मानिसहरूको खोजीलाई तीव्र बनाएको छ। नदीको बहाव घट्दै गएसँगै जोखिमयुक्त क्षेत्रहरूमा प्रवेश गरेर खोजी तथा उद्धार गर्ने प्रयास भइरहेको छ।

तर बाढीले बगाएर ल्याएको ढुंगा, माटो र भग्नावशेषका कारण धेरै स्थानमा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। कतिपय क्षेत्रमा सडक तथा पुल बगाएकाले स्थलमार्गबाट उद्धार टोली पुग्न सकेको छैन। त्यस्ता क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धारकर्मीलाई वैकल्पिक मार्ग र हवाई माध्यमबाट परिचालन गरिएको छ।

बाढीपछि हराइरहेका व्यक्तिका आफन्तहरू भने आफ्ना परिवारका सदस्यको अवस्था थाहा पाउन नसकेको भन्दै चिन्तित छन्। कतिपय स्थानमा उद्धारको प्रतीक्षामा रहेका नागरिकले तत्काल खाद्यान्न, पानी, औषधि र सुरक्षित स्थानमा स्थानान्तरणको माग गरिरहेका छन्।

 

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार प्रयास

बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये जलविद्युत् आयोजना आसपासका क्षेत्र पनि छन्। नदीमा आएको अत्यधिक बहावका कारण विभिन्न जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेको छ भने आयोजनाका सुरुङ तथा अन्य संरचनाभित्र सयौँ मानिस फसेको आशंका गरिएको छ।

अधिकारीहरूले सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि प्रयास तीव्र पारिएको बताएका छन्। सुरुङभित्र पानी, हिलो तथा भग्नावशेष भरिएकाले उद्धार टोलीलाई भित्र प्रवेश गर्नसमेत कठिन भइरहेको छ।

सुरुङभित्र रहेका व्यक्तिहरू जीवितै रहेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोजी तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाइएको छ। आवश्यक उपकरणसहित उद्धार टोली परिचालन गरिएको भए पनि सुरुङको अवस्था र बाहिरबाट आएको बाढीका कारण उद्धार कार्य निकै जोखिमपूर्ण बनेको छ।

 

रसुवागढीको सुरुङमा खोजीपछि उद्धार टोली फिर्ता

रसुवागढीस्थित जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको खोजीका लागि पुगेको उद्धार टोलीले लामो प्रयास गर्दा पनि कोही फेला पार्न सकेन। सुरुङभित्र खोजी गर्दा पनि मानिस भेटिन नसकेपछि उद्धारकर्मीहरूको टोली बाहिर फर्किएको छ।

बाढीका कारण रसुवागढी क्षेत्रको अवस्था अत्यन्तै प्रभावित भएको छ। सडक, पुल तथा आयोजनाका संरचनामा क्षति पुगेकाले प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउनसमेत चुनौती देखिएको छ।

सुरुङमा फसेका व्यक्तिहरूको अवस्थाबारे यकिन जानकारी नहुँदा उनीहरूका परिवार तथा आफन्तमा थप चिन्ता बढेको छ। उद्धार टोलीले उपलब्ध स्रोतसाधन र सुरक्षाको अवस्थाअनुसार अन्य सम्भावित स्थानमा समेत खोजी जारी राख्ने जनाएको छ।

 

पहिचान नभएका शवको अस्थायी व्यवस्थापन

बाढीका कारण विभिन्न नदी तथा खोलामा बगेर आएका धेरै शव फेला परेका छन्। तर तीमध्ये कतिपय शवको तत्काल पहिचान हुन सकेको छैन।

पहिचान खुल्न नसकेका शवहरूको व्यवस्थापनका लागि सम्बन्धित निकायले प्रक्रिया अघि बढाएका छन्। शवको विवरण संकलन, तस्बिर तथा अन्य पहिचानयोग्य तथ्य सुरक्षित राख्ने र सम्भावित आफन्तसँग मिलान गर्ने काम भइरहेको छ।

बाढीका कारण विभिन्न जिल्लाका मानिसहरू सम्पर्कविहीन रहेकाले नदी तथा खोलामा फेला पर्ने शवको पहिचान गर्न समय लाग्ने देखिएको छ। अधिकारीहरूले आफन्त बेपत्ता भएका परिवारबाट प्राप्त विवरणसँग शवको विवरण मिलाएर पहिचान गर्ने प्रयास भइरहेको बताएका छन्।

 

केरुङ-रसुवागढी नाका क्षतिग्रस्त भएपछि व्यापारिक मार्ग परिवर्तन

बाढीका कारण नेपाल–चीन सीमास्थित केरुङ–रसुवागढी नाकामा समेत ठूलो क्षति पुगेको छ। नाका जोड्ने सडक तथा भौतिक संरचनामा क्षति पुगेपछि तिब्बतबाट नेपालतर्फ आउने कन्टेनर तथा मालवाहक सवारीसाधनको आवागमन प्रभावित भएको छ।

रसुवागढी नाका प्रभावित भएपछि तिब्बतबाट नेपाल आउने केही कन्टेनरलाई मुस्ताङको कोरला नाकातर्फ मोड्न थालिएको छ। यसले उत्तरी सीमा हुँदै हुने व्यापारलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्ने प्रयास सुरु भएको संकेत गरेको छ।

रसुवागढी नाका लामो समय अवरुद्ध भएमा नेपाल–चीन व्यापारमा समेत ठूलो असर पर्न सक्ने देखिएको छ। विशेषगरी चीनबाट नेपाल भित्रिने दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री तथा अन्य व्यापारिक सामानको आपूर्तिमा असर पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ।

 

उद्धारसँगै राहत र पुनःस्थापनाको चुनौती

बाढीबाट प्रभावित नागरिकको उद्धारसँगै तत्काल राहत तथा पुनःस्थापनाको काम पनि सरकारका लागि ठूलो चुनौती बनेको छ। विस्थापित नागरिकलाई सुरक्षित स्थानमा राख्ने, खानेपानी, खाद्यान्न, औषधि तथा अस्थायी आवासको व्यवस्था गर्ने काम एकैसाथ अघि बढाउनुपर्ने अवस्था छ।

बाढीले सडक, पुल, विद्युत् आयोजना, सञ्चार संरचना, बजार तथा निजी आवासमा समेत व्यापक क्षति पुर्‍याएको छ। कतिपय क्षेत्रमा बस्ती नै बगाएका कारण नागरिकहरू खुला स्थान वा सुरक्षित क्षेत्रमा आश्रय लिन बाध्य भएका छन्।

उद्धार तथा राहत अभियानका क्रममा सम्पर्कविहीन व्यक्तिको खोजी, शवको पहिचान तथा व्यवस्थापन र जीवित उद्धारको सम्भावना भएका स्थानमा प्राथमिकताका साथ खोजी गर्ने काम भइरहेको छ।

यता, बाढी प्रभावित क्षेत्रको अवस्था अझै पूर्णरूपमा सामान्य भइसकेको छैन। नदी तथा खोलाको बहाव, क्षतिग्रस्त संरचना र पहिरोको जोखिमका कारण उद्धारकर्मी तथा स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ।

मृत्यु हुनेको संख्या ९०० नाघिसकेको र ४ हजार २०० भन्दा बढी मानिस सम्पर्कविहीन रहेको अवस्थामा अबको प्राथमिकता बेपत्ताको खोजी, सम्भावित जीवित व्यक्तिको उद्धार, घाइतेको उपचार तथा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु बनेको छ।

नारायणीमा भेटिँदै छन् रसुवा बाढीका शव, खोजीमा सेना सक्रिय

चितवन। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा तल्लो तटीय क्षेत्रमा शव भेटिने क्रम बढेको छ । चितवनसहित नवलपरासीका दुई जिल्लामा पर्ने नारायणी नदीमा मात्रै अहिलेसम्म सयौँ शव फेला परेका छन् ।

सरकारको पछिल्लो विवरणअनुसार बाढीमा परेका ९०३ जनाको शव फेला परिसकेको छ । तीमध्ये चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा मात्रै ६३० शव भेटिएका छन् । चितवनमा २७२, पूर्वी नवलपरासीमा २०७ र पश्चिम नवलपरासीमा १५१ शव फेला परेको विवरण छ ।

बाढीको मुख्य प्रभाव परेको रसुवा र नुवाकोट क्षेत्रमा उद्धार तथा खोजीलाई प्राथमिकता दिइरहँदा नदीको बहाव तल्लो क्षेत्रमा कम हुँदै गएपछि नारायणीमा शव भेटिने क्रम बढेको हो । केही शव नदीको बहावसँगै भारतसम्म पुगेको बताइएको छ ।

चितवनमा बेपत्ताको खोजीका लागि नेपाली सेनाले अभियानलाई थप तीव्र बनाएको छ । मध्य पृतनाको नेतृत्वमा गठित टास्क फोर्सअन्तर्गत विभिन्न सैन्य युनिटले नदी तथा आसपासका क्षेत्रलाई छुट्टाछुट्टै भागमा विभाजन गरेर खोजी गरिरहेका छन् ।

नयाँ गोरख गण र नयाँ सबुज गणले संयुक्त रूपमा नारायणी नदी तथा आसपासका क्षेत्रमा खोजी गरिरहेका छन् । जोखिमपूर्ण स्थानमा खोजी गर्न संहनाथ गणको कमाण्डो तालिमप्राप्त टोलीसमेत परिचालन गरिएको नेपाली सेनाले जनाएको छ ।

सोमबार बिहान ५ बजेदेखि जारी खोजीका क्रममा दिउँसो २ बजेसम्म मात्रै नगर वन टापु क्षेत्रमा १० शव फेला परेका छन् । सोही स्थानमा थप दुई शवका अवशेषसमेत भेटिएको सेनाले जनाएको छ ।

बेपत्ता नागरिकको खोजीका लागि चितवनमा ड्रोन, वाटर रबरबोटलगायत उपकरण प्रयोग गरिएको छ । खोजी तथा उद्धारमा सुरक्षाकर्मी र अन्य निकायसहित ४३६ जनाको संयुक्त टोली परिचालन गरिएको छ ।

राष्ट्रपति पौडेल र सभापति लामिछानेबीच भेटवार्ता, बाढीपछिको उद्धार र राहतबारे जानकारी

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार भएको भेटवार्तामा सभापति लामिछानेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति तथा त्यसपछि भइरहेको उद्धार, राहत र पुनःस्थापनाका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।

लामिछानेले बाढी प्रभावित क्षेत्रमा राज्यका तर्फबाट भइरहेका उद्धार तथा राहतका गतिविधि, प्रभावित नागरिकको अवस्था र तत्काल आवश्यक पर्ने सहयोगका विषयमा राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ।

यसअघि सोमबार नै लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गरेका थिए। प्रधानमन्त्री शाहसँगको भेटमा उनले बाढी प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियान र पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए।

प्रधानमन्त्रीसँगको भेटबाट प्राप्त जानकारीपछि लामिछानेले राष्ट्रपति पौडेललाई समेत बाढीपछिको अवस्था र सरकारका तर्फबाट भइरहेका कामबारे ब्रिफिङ गरेका हुन्।

यशको ‘टक्सिक’ तामझाम, कथामा भने दम कम

काठमाडौं। दक्षिण भारतीय स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिक’ पर्दामा उत्रिएको छ । ठूलो बजेट, भव्य सेट, चर्को एक्सन र यशको स्टारडमलाई केन्द्रमा राखेर बनाइएको फिल्मले ग्याङ्स्टरको कथाले रगतको होली खेलेको छ। 

त्यहिँमाथि ड्रग्सको कारोबार, पारिवारिक विश्वासघात, बदला र ग्याङवारलाई फिल्मले  मुख्य विषय बनाएको छ। पर्दामा फिल्म धुमधडाम छ, एक्सनमा कुनै कन्जुस्याइँ गरिएको छैन। तर कथा भन्ने तरिकाले भने दर्शकलाई अन्त्यसम्म समातेर राख्न सक्दैन।

फिल्मको कथा सन् १९४० को दशकको गोवाबाट सुरु हुन्छ । ड्रग्स कारोबारमा विभिन्न ग्याङको दबदबा रहेको समयमा यश ‘राया’को भूमिकामा देखिन्छन् ।

परिवारभित्रकै धोका र पुराना दुस्मनीले कथालाई बदला र ग्याङवारतर्फ लैजान्छ । त्यसपछि कथाको केन्द्रमा रायाका छोरा ‘टिकट’ आउँछन् ।

कागजमा कथा बलियो छ । तर पर्दामा धेरै पात्र र घटना एकैपटक दौडाइँदा कथा समात्न गाह्रो हुन्छ । को कसको मान्छे हो, कसले कसलाई धोका दिइरहेको छ भन्ने बुझ्नमै दर्शक अलमलिने ठाउँ धेरै छन् ।

‘टक्सिक’को सबैभन्दा बलियो पक्ष यश नै हुन् । रायाको भूमिकामा उनको लुक्स, हाउभाउ, संवाद बोल्ने शैली र स्क्रिन प्रेजेन्सले पर्दा तताउँछ ।

टिकटको भूमिकामा पनि यशले आफूलाई फरक देखाउने प्रयास गरेका छन् । उनका केही दृश्य फिल्मका सबैभन्दा सम्झनलायक क्षण बनेका छन् ।

फिल्ममा नयनतारा, कियारा आडवाणी, हुमा कुरेशी, तारा सुतरिया र रुक्मिणी वसन्तजस्ता कलाकार छन् । तर यति ठूलो स्टारकास्ट हुँदाहुँदै पनि अधिकांश पात्र यशकै कथाको वरिपरि घुमेका छन् । उनीहरूलाई स्वतन्त्र रूपमा स्थापित गर्ने प्रयास कमजोर देखिन्छ ।

निर्देशक गीतु मोहनदासले ‘टक्सिक’लाई सानो पर्दाका लागि बनाएकी छैनन् । विशाल सेट, भव्य लोकेसन, फरक शैली र ठूलो स्केल फिल्ममा देखिन्छ ।

समस्या के हो भने फिल्मले कथाभन्दा शैलीलाई बढी महत्व दिएको महसुस हुन्छ ।

एकपछि अर्को घटना छिटोछिटो आउँछन् । एक्सन हुन्छ, गोली चल्छ, पात्र मर्छन् र कथा अघि बढ्छ । तर ती घटनाको पछाडिको कारण र पात्रको भावनालाई पर्याप्त समय नदिँदा दर्शकसँग भावनात्मक सम्बन्ध बन्न सक्दैन ।

फिल्मको एक्सन ठूलो स्केलमा खिचिएको छ । तर तीव्र एडिटिङ र लगातारका कटले कतिपय दृश्यलाई रोमाञ्चकभन्दा अन्योलपूर्ण बनाउँछ ।

निर्माणमा पैसा र मेहनत दुवै खर्चिएको देखिन्छ । तर ठूलो बजेट र भव्य दृश्यले कमजोर पटकथाको कमी पूर्ति गर्न सक्दैन भन्ने कुरा फिल्मले देखाउँछ ।

‘टक्सिक’को सिनेमाटोग्राफी भने आकर्षक छ । १९४० को दशकको गोवा, विशाल सेट, पोसाक, प्रकाश र एक्सनको संयोजनले फिल्मलाई भव्य बनाएको छ ।

कतिपय फ्रेम यति आकर्षक छन् कि फिल्म हेर्दा आँखा हटाउन मन लाग्दैन । तर दृश्य सकिएपछि फेरि कथामै फर्किँदा धेरै प्रश्न बाँकी रहन्छन् ।

रवि बसरुरको ब्याकग्राउन्ड स्कोरले फिल्मलाई भारी बनाउन खोजेको छ । तर कतिपय दृश्यमा बीजीएम आवश्यकता भन्दा बढी हावी हुँदा दृश्यको प्रभाव नै कमजोर भएको महसुस हुन्छ ।

ठूला नाम जोडिएको बीजीएमबाट अपेक्षा स्वाभाविक रूपमा धेरै थियो । तर गीत र ब्याकग्राउन्ड स्कोरले फिल्मको कमजोर कथालाई उकास्न सकेका छैनन् ।

‘टक्सिक’मा सबै कुरा ठूलो छ। जस्तै कि बजेट ठूलो, सेट ठूलो, एक्सन ठूलो र यशको स्टारडम पनि ठूलो। तर कथा भने त्यसको अनुपातमा कमजोर छ भन्दा फरक नपर्ला। 

यद्यपि यशले आफ्नो आफ्नो काम इमानदारीपूर्वक गरेका छन्। पर्दामा उनको उपस्थिति फिल्मको ठूलो आकर्षण हो ।

तर ३ घण्टा १४ मिनेट लामो फिल्मलाई यशले मात्र धान्न सकेनन्। यो भने पक्का हो। 

 

भोटेकोशीको जोखिम निगरानी गर्न सीसी क्यामेरा जडान हुँदै

काठमाडौं। नेपाल-चीन सीमा क्षेत्रमा भोटेकोशी बाढीपछि बनेको तालको निगरानी गर्न दुईवटा सीसी क्यामेरा जडान गर्ने काम सुरु गरिएको छ ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार बाढीपछि बनेको उक्त ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले सम्भावित जोखिमको अवस्थाबारे तत्काल जानकारी लिन क्यामेरा राख्न लागिएको हो ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि नदीको बहाव र तालको अवस्थालाई निरन्तर निगरानीमा राख्न क्यामेरा जडान गर्न थालिएको केन्द्रले जनाएको छ ।

बाढीविद् सौहार्द जोशीका अनुसार क्यामेरा सञ्चालनमा आएपछि नदीको बहावमा आउने परिवर्तन तथा ताल फुट्न सक्ने सम्भावित अवस्थाको दृश्य निगरानी गर्न सहज हुनेछ ।

रसुवा बाढीको असर : नेप्से ४४ अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा ठूलो गिरावट आएको छ । नेप्से परिसूचक ४३.८९ अंकले घटेर २ हजार ५१३.४२ विन्दुमा झरेको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

दिनभर ३४७ कम्पनीका ९३ लाख २२ हजार १२५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ६४ करोड ८० लाख रुपैयाँ पुगेको छ । २१ कम्पनीको मूल्य बढ्दा २५३ कम्पनीको सेयरमूल्य घटेको छ ।

बजार खुलेदेखि नै ओरालो लागेको नेप्से कारोबारको अन्तिम समयसम्म सम्हालिन सकेन । विशेषगरी भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनामा परेको क्षतिको प्रभाव ती कम्पनीको सेयरमूल्यमा देखिएको छ ।

मैलुङ खोला जलविद्युत्को सेयरमूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशत घटेको छ । त्यस्तै रसुवागढी हाइड्रोपावर र चिलिमे हाइड्रोसहितका जलविद्युत् कम्पनीको सेयरमूल्यमा पनि तीव्र गिरावट आएको छ । जलविद्युत् उपसमूह २.९५ प्रतिशत घटेको छ ।

बाढीको क्षतिपछि जलविद्युत् कम्पनीमा लगानीकर्ताको जोखिम बढेको आकलनसँगै बिक्री चाप देखिएको हो । त्यसको विपरीत लगानीकर्ताको आकर्षण उत्पादन तथा प्रशोधन समूहका कम्पनीतर्फ देखिएको छ ।

आजको बजारमा उपकार लघुवित्त सबैभन्दा धेरै बढ्ने कम्पनी बन्यो । यसको सेयरमूल्य १३.१६ प्रतिशतले उक्लिएको छ ।

महिलालाई जिस्क्याउँदै नम्बर मागेको आरोपमा तीन जना पक्राउ

काठमाडौं । कीर्तिपुर नगरपालिका–७ भाजंगलमा बाटो हिँडिरहेकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङका २२ वर्षीय सत्यराज खत्री, कञ्चनपुरका २२ वर्षीय ललित दमाई र अशोक भण्डारी रहेका छन् । उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार भदौ १२ गते राति करिब ८ बजे तीनै जनाले बाटोमा हिँडिरहेकी महिलालाई जिस्क्याउँदै मोबाइल नम्बर माग्नुका साथै अश्लील शब्द प्रयोग गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता [भिडियाे]

काठमाडाैं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

​भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ।

​भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुन:स्थापनाका विषयमा छलफल भएको थियो।

​प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका छन्।

 

‘मास्टर्नी’लाई बक्सअफिसमा धक्का, ४० लाख पनि पुगेन

काठमाडौं । प्रियंका कार्कीको निर्माण तथा मुख्य अभिनय रहेको फिल्म ‘मास्टर्नी’ ले बक्सअफिसमा अपेक्षाअनुसार व्यापार गर्न सकेको छैन ।

भदौ ५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले भदौ १४ गतेसम्म ३९ लाख ५२ हजार ८५९ रुपैयाँ ग्रस कमाएको चलचित्र विकास बोर्डको तथ्यांकले देखाएको छ । यो अवधिमा फिल्मका ११ हजार ९९६ टिकट बिक्री भएका छन् ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पुराना केही फिल्मको व्यापारमा भने उल्लेख्य अन्तर देखिएको छ ।

साउन १ गतेदेखि प्रदर्शनमा रहेको ‘गौंथली’ ले अहिलेसम्म २५ करोड ६८ लाख ६२ हजार ८० रुपैयाँ ग्रस कमाएको छ । फिल्म ९ लाख ३१ हजार ६२७ दर्शकले हेरेका छन् ।

त्यस्तै, साउन २२ गते रिलिज भएको ‘हली’ ले २३ लाख ११ हजार २७० रुपैयाँ कमाएको छ । फिल्मका ८ हजार ४६३ टिकट बिक्री भएका छन् ।

साउन २९ गतेदेखि प्रदर्शनमा आएको ‘लज्जावती’ को व्यापार भने अझ कमजोर देखिएको छ । फिल्मले हालसम्म ७ लाख ७५ हजार ४७० रुपैयाँ ग्रस कमाउँदा २ हजार ७३५ जना दर्शकले टिकट काटेका छन् ।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘पार्वती’ को बक्सअफिस विवरण भने चलचित्र विकास बोर्डले आगामी सोमबार सार्वजनिक गर्ने जनाएको छ ।

सरकारी कोषमा राहत थुप्रिएको छ, रसुवाका बाढीपीडित भोकै छन् – ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी बाढीपछि सरकारी कोषमा राहत तथा रकम जम्मा भए पनि प्रभावित नागरिकसम्म सहायता पुग्न नसकेको आरोप लगाएका छन् ।

सोमबार एमाले पार्टी कार्यालयमा बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले संकलन गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले बाढीपीडितको अवस्था अझै कष्टकर रहेको बताएका हुन् ।

उनले सरकारको भरमा मात्र राहत वितरण प्रभावकारी नहुने भन्दै एमालेले विभिन्न पक्षसँग समन्वय गरेर प्रभावित नागरिकसम्म सहयोग पुर्‍याउने बताए ।

ओलीले सरकारी कोषमा पर्याप्त रकम र राहत सामग्री जम्मा भए पनि त्यसको प्रभावकारी वितरण हुन नसकेको दाबी गरे ।

‘केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन,’ ओलीले भने, ‘यो स्थितिलाई अन्त्य गर्न हामी प्रयास गरिरहेका छौँ ।’

उनले विपद्का बेला राहत सामग्री संकलन गरेर मात्र नहुने भन्दै वास्तविक पीडितसम्म समयमै पुर्‍याउनुपर्नेमा जोड दिए ।

अधिकृत बन्ने सपना बोकेका आयुष, पहिलो पोष्टिङमै अस्ताए [फोटो-फिचर]

चितवन। लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गरेका सल्यानका २१ वर्षीय आयुष खड्काको अधिकृत बन्ने सपना अधुरै रह्यो।

पहिलो पोष्टिङमै रसुवाको टिमुरे पुगेका उनी सेवा प्रवेश गरेको पाँच महिनामै भोटेकोशीको विनाशकारी बाढीमा परेर ज्यान गुमाउन पुगे ।

स्नातक तहको परीक्षा दिन दुई दिनपछि गृहजिल्ला सल्यान जाने तयारीमा रहेका आयुष भदौ १० गते बिहान आएको बाढीमा परेका थिए । बाढीमा बेपत्ता भएका उनको शव पाँच दिनपछि फेला परेको थियो ।

शव बिग्रँदै गएकाले गृहजिल्लासम्म लैजान सम्भव नभएपछि सोमबार चितवन र तनहुँको संगमस्थल देवघाटमा उनको अन्त्येष्टि गरिएको काका रमेश खड्काले बताए ।

बागचौर नगरपालिका–१० पिपलनेटा घर भएका आयुष खड्का परिवारका जेठा छोरा थिए । गत वैशाखमा लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि उनको पहिलो पोष्टिङ रसुवाको टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा भएको थियो ।

सरकारी सेवामा प्रवेश गरे पनि आयुषको लक्ष्य त्यतिमै रोकिएको थिएन । उनी अधिकृत बन्ने तयारीमा थिए । परिवारले पनि जागिरसँगै पढाइ अघि बढाउन सुझाव दिएपछि उनी रसुवा पुगेका थिए ।

‘पढ्नमा साह्रै रुचि राख्थ्यो । खरिदार हुँदिनँ, म सिधै अधिकृत निकाल्छु भन्थ्यो,’ काका रमेशले सम्झिए ।

रसुवाको पोष्टिङमा आयुषको खासै रुचि नभए पनि परिवारको सल्लाहपछि उनी जिम्मेवारी सम्हाल्न त्यहाँ पुगेका थिए । परीक्षा दिन भदौ १६ गते घर जाने योजना बनाएका उनले त्यसअघि भदौ १२ गते काठमाडौं आउने तयारी गरेका थिए ।

तर, घर फर्कने तयारीकै क्रममा आएको बाढीले उनको जीवन नै खोसिदियो ।

आयुषको परिवारमा बुवा, आमा र बहिनी छन् । छोरा बाढीमा परेको खबर सुनेपछि आमा मुना बेहोस भएकी थिइन् । सोमबार देवघाटमा छोराको अन्तिम संस्कार भइरहँदा पनि उनी सम्हालिन सकेकी थिइनन् ।

भाइको अन्तिम संस्कारमा बहिनी आयुषासमेत अर्धमूर्छित बनेकी थिइन् । आफन्तहरूले उनलाई सम्हाल्दै थिए ।

सरकारी सेवामा प्रवेश गरेको पाँच महिनामै आयुषको जीवनको यात्रा टुंगियो । अधिकृत बन्ने सपना बोकेर रसुवा पुगेका उनी अन्ततः परिवार र आफन्तको आँसुबीच देवघाटमा बिदाइ भए ।

कठिन घडीमा नेपालसँग काँधमा काँध मिलाएर उभिएका छौं -रक्षामन्त्री राजनाथ सिंह

काठमाडौं। भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर सिंहले शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारतीय सरकार र जनताका तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति समवेदना प्रकट गरेका हुन् ।

गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले प्राकृतिक विपत्तिबाट नेपालीसँगै भारतीयलगायत अन्य विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गरेका छन् ।

सिंहले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

नेपाल–भारत सम्बन्धलाई स्मरण गर्दै उनले विपत्तिको समयमा भारत नेपालसँगै रहेको सन्देश दिएका छन् । उनका अनुसार भारतले नेपाललाई निकट मित्र तथा साझेदारका रूपमा सधैं सहयोग गर्दै आएको छ ।

नेपालमा जारी खोज, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा आवश्यक सहयोग गर्न भारत प्रतिबद्ध रहेको सिंहले बताएका छन् ।

‘सुख–दुःखको साथी’का रूपमा भारतले यस कठिन परिस्थितिमा नेपाली नागरिकसँगै उभिने उनको भनाइ छ।

रसुवा बाढी : मृतकको संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको विवरण थप भयावह देखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म बाढीमा परी मृत्यु भएका ९०३ जनाको शव फेला परेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार अझै ४ हजार २२७ जना सम्पर्कविहीन छन् । विपद्मा परेका १० हजार ४५१ जनाको उद्धार भइसकेको जनाइएको छ ।

बाढीबाट घाइते भएका २६७ जनामध्ये १५६ जना उपचारपछि डिस्चार्ज भएका छन् । बाँकी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बाढीपछि पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा सुरक्षित राखिएको प्राधिकरणले जनाएको छ । ती शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको काममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्राधिकरणका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २० हजार ८१९ सुरक्षाकर्मी परिचालन भएका छन् ।

यसअन्तर्गत नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन् ।

बाढीपछि अझै ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेकाले खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिइएको छ । साथै फेला परेका शवको पहिचान र व्यवस्थापन तथा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने कामसमेत जारी रहेको प्राधिकरणले जनाएको छ ।

बाढीपीडित समिति गठन गर्दै जय नेपाल पार्टीले विस्तार गर्यो विभिन्न विभाग र जनवर्गीय संगठन

काठमाडौं । भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीबाट उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै जय नेपाल पार्टी (प्रस्तावित) ले बाढीपीडित सहयोग समिति गठन गरेको छ।

पार्टीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सभापति डा. धवलशम्सेर राणाको संयोजकत्वमा सम्पूर्ण केन्द्रीय सदस्यहरू सदस्य रहने गरी बाढीपीडित सहयोग समिति गठन गरिएको हो। समितिले बाढी प्रभावित क्षेत्रमा राहत, सहयोग तथा आवश्यक समन्वयका लागि काम गर्ने पार्टीले जनाएको छ।

यसैबीच, पार्टीले आफ्नो विधानबमोजिम विभिन्न विभाग, समिति तथा जनवर्गीय संगठनको जिम्मेवारीसमेत तोकेको छ।

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभागको संयोजकमा डा. धवलशम्सेर राणा र सुपरिवेक्षण समिति तथा जनवर्गीय संगठन संयोजन विभागको संयोजकमा मुकुन्दश्याम गिरीलाई जिम्मेवारी दिइएको छ। पार्टीको सचिवालय प्रमुखमा सगुन सुन्दर लावती रहेका छन्।

त्यस्तै, संगठन विभागको संयोजकमा प्रज्जवल बोहरा, प्रशिक्षण विभागमा संगीता सिलवाल, आर्थिक स्रोत व्यवस्थापन विभागमा होमनाथ गौतम, अनुसन्धान तथा योजना विभागमा इश्वरी भट्टराई र सूचना तथा प्रविधि विभागमा प्रभात योगीलाई जिम्मेवारी दिइएको छ।

शिक्षा विभागको संयोजकमा कर्णबहादुर शाही, खेलकुद विभागमा दमन बस्नेत, प्रवास विभागमा शशी सिलवाल, सुशासन तथा भ्रष्टाचार न्यूनीकरण विभागमा प्रकाश जंग कार्की, वातावरण विभागमा पवित्रा सुब्बा श्रेष्ठ तथा सम्पर्क समाज विभागमा फणीराज लोहनीलाई संयोजक तोकिएको छ।

यसैगरी, मूल्याङ्कन तथा अभिलेख विभागको संयोजकमा विकास श्रेष्ठ, अर्थनीति अनुसन्धान विभागमा श्यामल कृष्ण श्रेष्ठ तथा सूचना सञ्चार समितिको संयोजकमा सुरेश आचार्यलाई जिम्मेवारी दिइएको छ।

पार्टीले प्रचारप्रसार तथा सामाजिक सञ्जालसम्बन्धी जिम्मेवारी पनि छुट्टाछुट्टै तोकेको छ। प्रचारप्रसार तथा सामाजिक सञ्जाल विभागको संयोजकमा शशांक शम्सेर थापा, सामाजिक सञ्जालतर्फ रञ्जन कार्की र मिडियातर्फ राधिका जोशीलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, तराई–मधेस विभागको संयोजकमा राम नेरश यादवलाई तोकिएको छ।

जनवर्गीय संगठनमा पनि जिम्मेवारी

जय नेपाल पार्टीले विभिन्न जनवर्गीय संगठनको नेतृत्वसमेत तोकेको छ। जसअनुसार नेपाल युवा संगठनको सभापतिमा निराजन बम र नेपाल महिला संगठनको सभापतिमा अन्जना शाह रावललाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, नेपाल भूतपूर्व सैनिक संगठनको सभापतिमा मनोज कुमार सिलवाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालको सभापतिमा चिराग मान सिंह कुँवर, नेपाल किसान संगठनको सभापतिमा अमृत परियार तथा नेपाल नागरिक मोर्चाको सभापतिमा पशुपति कठायतलाई जिम्मेवारी दिइएको छ।

पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले जारी गरेको विज्ञप्तिमा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगलाई प्राथमिकतामा राख्दै पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सक्रिय हुन आह्वान गरिएको छ।

जय नेपाल पार्टीले सार्वजनिक गर्‍यो १३० सदस्यीय केन्द्रीय कार्यसमिति

काठमाडौं । डा. धवलशम्सेर राणा नेतृत्वको जय नेपाल पार्टीले १३० सदस्यीय केन्द्रीय कार्यसमितिको नामावली सार्वजनिक गरेको छ। पार्टीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिको नामावली सार्वजनिक गरेको हो।

सार्वजनिक नामावलीअनुसार डा. धवलशम्सेर राणा सभापति रहेका छन्। समितिमा विभिन्न जिल्लाका १२७ जना केन्द्रीय सदस्य तथा दुई जना आमन्त्रित केन्द्रीय सदस्य रहेका छन्। पार्टीले केन्द्रीय सदस्यहरूको मर्यादाक्रम भने शीघ्र तय गरिने जनाएको छ।

केन्द्रीय कार्यसमितिमा काठमाडौंसहित बाँके, सुर्खेत, स्याङ्जा, जुम्ला, कालिकोट, पाँचथर, धनुषा, मोरङ, सुनसरी, झापा, दाङ, ललितपुर, कास्की, म्याग्दी, नुवाकोट, दोलखा, महोत्तरी, सिराहा, रुपन्देहीलगायत जिल्लाबाट प्रतिनिधित्व रहेको छ।

पार्टीको केन्द्रीय कार्यसमितिमा सगुन सुन्दर लावती, नारायणप्रसाद कोइराला, कर्णबहादुर शाही, केशवराज श्रेष्ठ, नवराज सिंखडा, धनसुर शाही, सुरेश आचार्य, प्रकाश जंग कार्की, रामराज कोइराला, प्रभात योगी, जनकबहादुर सिंह, दमन बस्नेत, होमनाथ गौतम, जयप्रकाश बगाले, डा. गोविन्द आचार्य, डा. महेन्द्र कार्कीलगायत रहेका छन्।

त्यस्तै, महिलातर्फ पवित्रा सुब्बा श्रेष्ठ, मिना शाही, राधाकुमारी शाही शाह, उमा श्रेष्ठ, लक्ष्मी कुमारी हमाल, राधिका जोशी, समृद्धी राणा, सुमिरा कार्की, अन्जना शाह रावल, वविना मोक्तान लावती, अन्जु कुमारी थपलिया, रेश्मा राणालगायतलाई केन्द्रीय सदस्य बनाइएको छ।

पार्टीले सिवाङ्गीनी राणा र अन्जली गिरीलाई आमन्त्रित केन्द्रीय सदस्य तोकेको छ।

यसैगरी, जय नेपाल पार्टीले ८ सदस्यीय सम्मानित सल्लाहकार समिति समेत गठन गरेको छ। समितिको संयोजकमा दिल विकाश राजभण्डारी रहेका छन्। सदस्यहरूमा प्रजापति कोइराला, मिरा राणा, डम्बर कार्की, क्या. जसबहादुर खेवाङ, लक्ष्मी माखिम, लक्ष्मी श्रेष्ठ र जगत जंग लावती रहेका छन्।

पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले प्रेस विज्ञप्तिमार्फत नयाँ केन्द्रीय कार्यसमिति र सम्मानित सल्लाहकार समितिको नामावली सार्वजनिक गरेका हुन्। पार्टीले आगामी दिनमा संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई थप व्यवस्थित बनाउने तयारी गरेको जनाएको छ।

 

ओलीले भने- भाेटेकाेशी बाढीपछि कसैको हात मात्रै भेटिएकाे छ (भिडियाे)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी र त्रिशूली बाढीबाट भएको मानवीय क्षतिको अवस्था अत्यन्तै दर्दनाक रहेको बताएका छन्।

उनले बाढीबाट बाँचेकाहरूलाई सामान्य जीवनमा फर्काउन तत्काल दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिएका छन्।

अध्यक्ष ओलीले कतिपय मृतकको शवसमेत पूर्ण अवस्थामा फेला नपरेको उल्लेख गरे।

‘एक जना महिलाको हात मात्रै फेला परेछ। कसैको नाम खोपिएको रहेछ। फलानाको हातमा मेरो नाम खोपिएको थियो भन्ने मान्छे फेला परेपछि ती महिलाको पहिचान भयो,’ ओलीले भने, ‘हात मात्रै फेला पर्यो। बाँकी छैन।’

उनले बाढीपछि शवको अवस्था निकै दर्दनाक रहेको बताए। ‘कसैको टाउको मात्रै भेटिएको छ। कसैको खुट्टा मात्रै छ। त्यस्तो दर्दनाक अवस्था छ,’ उनले भने।

ओलीले उद्धार र राहतसँगै विपद्बाट बाँचेकाहरूको पुनःस्थापना तथा रोजगारीका लागि विशेष योजना आवश्यक रहेको बताए।

‘अब बाँचेकालाई सामान्य जीवनमा कसरी फर्काउने? यी गम्भीर समस्याका रूपमा रहेका छन्,’ उनले भने, ‘त्यसकारण एमालेले योजना नै बनाउनुपर्छ।’

बाढी प्रभावितलाई उत्पादनसँग जोड्ने, उद्यम तथा स्टार्टअपमा सहभागी गराउनेलगायतका विकल्पमा सोच्नुपर्ने ओलीको भनाइ छ। ‘कुनै उत्पादन गर्न लगाउने कि? स्टार्टअपमा लगाउने कि? प्रदेश सरकारले पनि यसबारे सोचोस्,’ उनले भने।

ओलीले विपद्पछि प्रभावित परिवारलाई तत्काल राहत दिने मात्रै नभई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने नीति आवश्यक रहेको बताए।

नाबालिकालाई खानेकुरा खुवाउँदै गृहमन्त्री गुरुङ (भिडियाे)

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ६० घण्टापछि उद्धार गरिएकी एक नाबालिकालाई खाना खुवाएका छन् ।

बुबाआमा रसुवाको भोटेकोशी बाढीले बगाएको अनुमान गरिएकी नाबालिकाको शनिबार उद्धार भएको थियो ।

उद्धारकर्मीहरुले पुरिएको घरमा रोएको आवाज सुनेपछि माटो पन्छाएर हेर्दा नाबालिका फेला परेको थियो ।

उनको सकुशल उद्धार भएको थियो । उनै नाबालिकालाई गृहमन्त्री गुरुङले खानेकुरा खुवाएका हुन् ।