`

रसुवा बाढीबारे प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत, उपचार र पुनर्स्थापनाको कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। उनले अझै सम्पर्कविहीन नागरिकको खोजी जारी रहेको र घाइतेको उपचार तथा विस्थापितको व्यवस्थापनलाई निरन्तरता दिइने बताए।

शाहका अनुसार बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १३ हजार २९५ सुरक्षाकर्मी खोज तथा उद्धारमा परिचालन भएका छन्। उद्धारका क्रममा हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको र प्रभावित क्षेत्रमा राहत तथा स्वास्थ्य टोली परिचालन गरिएको उनले जानकारी दिए।

बाढीबाट सडक, पुल, विद्युत्, सञ्चार तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको भन्दै सरकारले क्रमशः पूर्वाधार पुनर्स्थापनाको काम अघि बढाइरहेको उनले बताए। सञ्चार सेवा अधिकांश क्षेत्रमा पुनः सञ्चालनमा आएको र विद्युत् तथा सडक सेवा पनि मर्मत भइरहेको प्रधानमन्त्रीको भनाइ छ।

सुरुङभित्र फसेका नागरिकको खोजीलाई विशेष प्राथमिकता दिइएको बताउँदै शाहले नेपाली सेना र अन्तर्राष्ट्रिय विज्ञको सहकार्यमा उद्धार प्रयास जारी रहेको जानकारी दिए।

उनले विपद्को जोखिम बढ्नुमा जलवायु परिवर्तनको प्रभावसमेत रहेको उल्लेख गर्दै यस विषयमा अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी आवश्यक रहेको बताए।’

 

सम्माननीय सभामुखज्यू,

आज म विशेष जिम्मेवारीसहित यस गरिमामय सार्वभौम संसद्को रोस्ट्रममा उभिएको छु।

आफ्ना सपनाहरू बुन्दै गरेका नानीबाबुहरू, हाँसो–खुसीका साथ बाँचिरहेका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षणभरमै हामीबाट खोसेर लग्यो।

यस अकल्पनीय विपत्तिमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्ना आफन्त गुमाएर गहिरो शोकमा पर्नुभएका परिवारजनप्रति हृदयदेखि नै समवेदना व्यक्त गर्दछु। घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आफ्ना मान्छे अझै फेला नपरेर बाटो हेरेर बस्नुभएका नागरिकहरूको पीडा पनि म गहिरोसँग महसुस गर्न सक्छु।

यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो। बाढीमा परेका नागरिकहरूको कारुणिक चीत्कार सुन्दा मेरो छाती चिसो हुन्छ।

तर, यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एक-आपसमा बिलौना गर्ने समय छैन।

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ। त्यसैले दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन। हामी लडिरहेका छौँ।

घटनापछि सरकारले मानिसहरूको जीवनरक्षाका लागि के गर्दै आयो, अहिले के गरिरहेको छ र आगामी दिनमा के गर्नेछ भन्नेबारे म सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु।

तत्काल उद्धार तथा खोजी

२०८३ भदौ १० गते बिहान ८ः४५ बजे, म यसै संसद्मा उपस्थित भएर उठाइने प्रश्नहरूको जवाफ दिने तयारी गरिरहेको बेला रसुवाको भोटेकोशीमा भीषण बाढी आएको सूचना प्राप्त भयो। सूचना प्राप्त हुनासाथ हामी गम्भीर बन्यौँ। तत्काल जिल्ला विपद् व्यवस्थापन समितिबाट अवस्थाबारे जानकारी लियौँ र सुरक्षा सतर्कता अपनाउन निर्देशन दियौँ।

बिहान ९ बजे तटीय क्षेत्रका बस्तीहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सुरक्षित स्थानमा जान आग्रह गरियो।

बिहान ९ः१५ बजे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलाइयो। प्रभावित क्षेत्रका नागरिकलाई कसरी उद्धार गर्ने भन्नेबारे तत्काल आवश्यक निर्णय गरियो।

बिहान ९ः३५ बजे नेपाल टेलिकममार्फत प्रभावित क्षेत्रका नागरिकको मोबाइलमा सतर्कतासम्बन्धी सूचना पठाइयो।

बिहान ९ः४५ बजे नेपाली सेनाको हेलिकोप्टर उद्धारका लागि उड्यो। यो उद्धारका लागि गरिएको पहिलो उडान थियो। त्यसलगत्तै निजी हेलिकोप्टरलाई समेत तयारी अवस्थामा राखियो।

बिहान १० बजे नेपाली सेनाको मनसुन कमान्ड पोस्टको आकस्मिक बैठक बस्यो र प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि स्रोतसाधन परिचालन गर्ने निर्णय गरियो।

बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोज तथा उद्धार एवं आपत्कालीन प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखियो। काठमाडौंलगायत अन्य जिल्लाबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई खोज, उद्धार, उपचार तथा राहत कार्यमा परिचालन गरियो।

बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बस्यो। सुरक्षा निकायका प्रमुखहरूलाई प्रभावित क्षेत्रमा संकटमा परेका नागरिकको खोज, उद्धार र उपचारलाई सर्वोच्च प्राथमिकता दिन निर्देशन दिइयो। थप हेलिकोप्टर र ड्रोन टोली परिचालन गर्नसमेत सम्बन्धित निकायलाई निर्देशन दिइयो।

दिउँसो १२ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रभावित क्षेत्रमा खोज, उद्धार र उपचारको काम तीव्र बनाउने निर्णय गरियो।

१५ वटा प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने, मृतकका परिवारलाई कानुनबमोजिम आर्थिक सहायता तत्काल उपलब्ध गराउने, घाइते तथा बिचल्लीमा परेकाहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने र त्यसका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर परिचालन गर्ने निर्णय गरियो।

घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने, घर तथा निवास गुमाएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी खाने–बस्ने व्यवस्था मिलाउने तथा अवरुद्ध विद्युत्, दूरसञ्चार, सडक, खानेपानीलगायत सेवा तत्काल सञ्चालन गर्ने निर्णयसमेत गरियो।

दिउँसो १ बजे प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल गरियो। तत्काल सम्पर्कमा आउनुभएका स्थानीय जनप्रतिनिधिहरूसँग टेलिफोनमार्फत अवस्थाबारे जानकारी लिइयो।

नेपाली सेनाको संयुक्त सञ्चालन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत कार्य टोली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको द्रुत कार्य टोलीमार्फत सूचना संकलन, समन्वय र अनुगमन सुरु गरियो।

प्रभावित क्षेत्रबाट घाइतेहरूको उद्धार गरी काठमाडौं ल्याएर उपचार सुरु गरियो। राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा १०० बेड छुट्याइयो। अन्य ठूला अस्पताललाई समेत तयारी अवस्थामा राखियो।

सरकारसँगै नेपाल स्काउट, विश्व स्वास्थ्य संगठन, नेपाल रेडक्रस लगायतको सहकार्यमा चिकित्सकीय टोली प्रभावित क्षेत्रमा परिचालन गरियो। आपत्कालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव हुन नदिन रक्तसञ्चार सेवा केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी तथा अन्य संस्थासँग समन्वय गरियो।

दिउँसो ३ बजे सूचना तथा सञ्चारमन्त्रीको टोली स्थलमार्ग हुँदै बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्‍यो। त्यसयता राज्यका सम्पूर्ण संयन्त्रबाट प्रभावित क्षेत्रको अवस्थाबारे निरन्तर जानकारी लिँदै थप आवश्यक निर्णय गर्दै आएका छौँ।

राति ७ः४० बजे प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम उपलब्ध गराउन सार्वजनिक आह्वान गरियो।

घटना भएको दिन बुधबार मध्यरातमै आठ ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइयो। त्यसै दिन रातिसम्म प्रभावित क्षेत्रका मोबाइल प्रयोगकर्ताका लागि भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क गरियो।

दोस्रो दिनदेखि उद्धार तीव्र

२०८३ भदौ ११ गते बिहानै पूर्वाधार विकासमन्त्रीसहितको टोली लिएर म आफैँ स्थलमार्ग हुँदै प्रभावित क्षेत्रमा पुगेर वस्तुस्थिति बुझेर आएँ। प्रभावित क्षेत्रमा बागमती प्रदेशका मुख्यमन्त्री पनि आफ्नो टोलीसहित उपस्थित हुनुहुन्थ्यो।

प्रभावित क्षेत्रबाट फर्केलगत्तै मन्त्रिपरिषद्का सदस्यहरूसँग आपत्कालीन छलफल गरी आवश्यक निर्णय लिइयो। रसुवा र नुवाकोटका लागि एक–एक करोड रुपैयाँ तथा धादिङका लागि ५० लाख रुपैयाँ निकासा गरियो।

विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपत्कालीन प्रतिकार्य टोली गठन गरियो। प्रभावित जिल्लामा कार्यरत कर्मचारीलाई कार्यस्थल नछाड्न निर्देशन दिइयो।

त्यस दिन राति ८ बजेसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १३ हजार २९५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भइसकेका थिए। ६९ उडानमार्फत ३५१ जनाको उद्धार गरिएको थियो। उडानका क्रममा गम्भीर घाइते, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइएको थियो।

प्रभावित ३ हजार ५०० जनालाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक सामुदायिक भवनमा व्यवस्थापनको तयारी गरियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदाम, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री पठाएर आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा वितरण गर्ने व्यवस्था मिलाइयो।

विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पताल सेट त्रिशूली पठाइयो। काठमाडौंमा संकलन भएको थप १० ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइयो।

सोही दिन बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गर्ने निर्णय गर्‍यो।

खोज तथा उद्धारको अवस्था

घटना भएलगत्तै प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको थियो। केही समयअघिसम्म ११ हजार ९९३ जनाको उद्धार गरिसकेका छौँ। तर अझै ३ हजार ९१६ जना सम्पर्कविहीन हुनुहुन्छ।

उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २९२ जना घाइतेमध्ये १८२ जना डिस्चार्ज भइसक्नुभएको छ। बाँकी घाइतेको स्वास्थ्यमा सुधार ल्याउन हाम्रा स्वास्थ्यकर्मी निरन्तर खटिरहेका छन्।

काठमाडौंंँबाट विशेषज्ञसहितको चिकित्सकीय टोली प्रभावित क्षेत्रका नागरिकको उपचारका लागि परिचालन गरिएको छ। उपचारसँगै प्रभावित नागरिकलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेका छौँ।

प्रभावित क्षेत्रमा कुनै पनि महामारी फैलिन नदिन विभिन्न अभियान सञ्चालन भइरहेका छन्। रोगको रोकथामका लागि विभिन्न माध्यमबाट जनचेतनामूलक सूचना प्रवाह भइरहेको छ। ‘विपद्पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना’ प्रभावकारी रूपमा लागू गर्न प्रदेश तथा स्थानीय तहका स्वास्थ्य अधिकारीलाई आवश्यक तालिमसमेत प्रदान गरिएको छ।

हाल नुवाकोटका १९ वटा अस्थायी आश्रयस्थलमा २ हजार ६५३ जना प्रभावित नागरिकले आश्रय तथा राहत प्राप्त गरिरहनुभएको छ। रसुवाका केही प्रभावित नागरिकलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ।

आर्थिक सहयोग

नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ।

केही समयअघिसम्म राहत कोषमा ७ अर्ब ८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ। हिजो मात्रै उक्त कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ निकासा गरिएको थियो।

त्यसमध्ये ६ करोड ७५ लाख रुपैयाँ रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ गरी १५ वटा पालिकामा निकासा भइसकेको छ।

हाल कोषमा ६ अर्ब ८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको छ भने थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलरसमेत जम्मा भएको छ।

अन्तर्राष्ट्रिय सहयोग

विपद्को यस कठिन घडीमा मित्रराष्ट्रहरूबाट टेलिफोन, पत्राचार तथा सामाजिक सञ्जालमार्फत सद्भावना सन्देश प्राप्त भइरहेका छन्। यसले हामीलाई थप दृढताका साथ विपत्तिसँग लड्ने शक्ति दिएको छ।

बाढी प्रभावित क्षेत्रका लागि अन्तर्राष्ट्रिय समुदायले समेत सहयोगको हात बढाएको छ। हालसम्म भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, चीन, अमेरिका, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, स्विट्जरल्यान्ड, सिंगापुर, दक्षिण कोरिया, जापान, बेलायत लगायतका मित्रराष्ट्रहरूले सहयोग गरेका छन्।

यसैगरी एसियाली विकास बैंक, विश्व बैंक, युरोपेली युनियन र संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरूले समेत सहयोग गरेका छन्। केही मित्रराष्ट्र तथा संघसंस्थाले थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रभावित पूर्वाधारको पुनर्स्थापना

बाढीबाट अवरुद्ध सञ्चार सेवा दोस्रो दिनदेखि पुनर्स्थापना हुँदै हालसम्म ९५ प्रतिशत सेवा सञ्चालनमा आइसकेको छ। सञ्चार सेवाको पहुँचभन्दा बाहिर रहेका स्थानमा ३० वटा स्याटेलाइट फोनमार्फत सञ्चार सेवा उपलब्ध गराइएको छ।

बाढीले भोटेकोशी-त्रिशूली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्‍याएको छ। विद्युत् उत्पादन गरिरहेका आठवटा आयोजना गरी २८१ मेगावाट तथा निर्माणाधीन चारवटा आयोजना गरी ३८८ मेगावाट क्षतिग्रस्त भएका छन्।

बाढीका कारण ४३१.१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ। नुवाकोटमा वैकल्पिक प्रसारण व्यवस्थामार्फत ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ। धादिङमा ९८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनर्स्थापना भइसकेको छ।

जलविद्युत् आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनियाँ र कोरियाली विज्ञ टोलीसमेत परिचालन भइरहेका छन्।

बाढीका कारण गल्छी-बेत्रावती-रसुवागढी सडक तथा पृथ्वी राजमार्गको गल्छी-मुग्लिन खण्डमा ठूलो क्षति पुगेको छ।

गल्छी-बेत्रावती-रसुवागढी सडकको बिदुर-बेत्रावती-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी खण्डको ४० किलोमिटर सडक पूर्ण रूपमा र १६ किलोमिटर आंशिक रूपमा क्षतिग्रस्त भएको छ।

पृथ्वी राजमार्गको कृष्णभीर, परेवा भीरलगायत क्षेत्रमा पनि क्षति पुगेको छ। गल्छी, बैरेनी, जरिखेत, पोखरे, मुग्लिन र गलौदी खण्डमा लेदो हटाएर यातायात सञ्चालन गरिएको छ।

बाढीका कारण ४८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। त्यसमध्ये २० वटा मर्मत गर्न सकिने र २८ वटा नयाँ निर्माण गर्नुपर्ने अवस्था छ।

त्यस्तै, ३१ वटा मोटरेबल पुल बगेका छन्। तीमध्ये दुई स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको छ। गल्छी-बेत्रावती सडकको गल्छी-देवीघाट खण्डमा लेदो हटाई बेलिब्रिज निर्माण भइरहेको छ। तादी-देवीघाटमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ।

बेत्रावतीमा उपलब्ध बेलिब्रिज राख्न सम्भव देखिएकाले काम सुरु भइसकेको छ। थप २० स्थानमा बेलिब्रिज राख्ने सम्भाव्यताको अध्ययन भइरहेको छ।

बाढीबाट क्षतिग्रस्त मुग्लिन-नारायणगढ सडकको कृष्णभीर खण्ड भदौ महिनाभित्रै मर्मत गरी सञ्चालनमा ल्याइनेछ। अन्य पूर्वाधारमा भएको क्षतिको विवरण संकलन भइरहेको छ।

शव व्यवस्थापन

पहिचान हुन नसकेका शवलाई कानुनबमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिरहेका छौँ। तर, डीएनए लगायत शवको पहिचान गर्न सहयोग गर्ने आधारहरू सुरक्षित राखिएका छन्।

डीएनए परीक्षणबाट पहिचान खुलेपछि सम्बन्धित परिवारलाई शव हस्तान्तरण गरिनेछ। पहिचान भएका शव परिवार तथा आफन्तको जिम्मा लगाउने काम भइरहेको छ।

केही समयअघिसम्म १ हजार ११४ शव फेला परेका छन्। त्यसमध्ये ९५ शवको सनाखत भई परिवारले बुझिसकेका छन्।

जलवायु परिवर्तनको प्रभाव

अचानक आएको यस ठूलो विपत्तिको व्यवस्थापनमा अहोरात्र जुटिरहँदा हाम्रो मनमा अर्को गम्भीर प्रश्न पनि जन्मिएको छ– हामीमाझ यस्तो विपत्ति कसरी आइपुग्यो?

विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिमचट्टानको हिमपहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन्।

यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले सामना गर्नुपर्ने जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ।

त्यसैले हामी सचेत त हुनैपर्छ। सँगसँगै जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको विपत्तिबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष पनि बलियो रूपमा प्रस्तुत गर्नुपर्ने बेला आएको छ।

जलवायु परिवर्तन विश्वव्यापी योगदानको परिणाम हो। यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी हो।

सरकारको आगामी प्रतिबद्धता

सम्माननीय सभामुखज्यू,

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी रहनेछ। घाइतेको उपचार जारी रहनेछ।

घरबारविहीन हुनुभएका नागरिकका लागि तत्कालीन अस्थायी व्यवस्थापनदेखि दीर्घकालीन पुनर्स्थापनासम्म सरकार लागिरहनेछ।

कोही कतै छुट्नुहुनेछैन।

यसबीच हामी विपत्तिसँग लडिरहँदा हामीमाथि केही प्रश्न पनि उठेका छन्।

पहिलो- समयमै बाढीको सूचना किन भएन?

मानव सभ्यताले भोगेका विपत्तिमध्ये यो ठूलो घटना हो। यो विपद् पूर्वानुमानभन्दा बाहिरको घटना हो। बाढी आउँदै गरेको सूचना पाएलगत्तै हाम्रा सुरक्षाकर्मी स्थानीयलाई सतर्क बनाउन खटिनुभएको थियो। त्यस क्रममा उहाँहरू स्वयं पनि बेपत्ता हुनुभएको छ।

दोस्रो- शव व्यवस्थापनबारे उठेको प्रश्न।

यो ठूलो विपत्तिमा धेरै मानिस नदीको लेदोसहितको पानीमा परेर ज्यान गुमाउनुभएको छ। बाढीले उहाँहरूको शव विभिन्न स्थानमा पुर्‍याएको थियो।

हामीले कानुनी तथा वैज्ञानिक आधारलाई टेकेर तत्काल पहिचान हुन नसकेका शवको डीएनए लगायत पहिचानका आधार सुरक्षित राखी जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरेका छौँ। पछि डीएनए मिल्नासाथ ती शव सम्बन्धित परिवारलाई जिम्मा लगाइनेछ र परिवारले आफ्नो धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार गर्न सक्नुहुनेछ।

त्यसैले यस विषयमा भ्रममा नपर्न म सबैमा अनुरोध गर्दछु।

तेस्रो- उद्धारका लागि विदेशी सहयोग।

यति ठूलो विपत्तिपछि हामीले अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने प्रश्न नै आउँदैन। प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन सुरुदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेका थियौँ। प्रक्रिया छोटो बनाएर अन्तर्राष्ट्रिय सहयोग लिने प्रयाससमेत गरेका थियौँ।

चौथो- प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार।

घटना हुनासाथ खोजी सुरु गर्दा जहाँ-जहाँ घाइते भेटिए र जहाँ-जहाँ हेलिकोप्टर जान सक्यो, त्यहाँ उद्धारलाई तीव्र बनाएका थियौँ।

प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा नेपाली सेनाको नेतृत्वमा अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीले खोज तथा उद्धार जारी राखेको छ।

पाँचौँ- संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीचको समन्वय।

सुरुदेखि नै हामी प्रदेश सरकार, स्थानीय सरकार तथा जनप्रतिनिधिसँग निरन्तर संवादमा थियौँ। हामी प्रभावित क्षेत्रमा जाँदा बागमती प्रदेश सरकारका मुख्यमन्त्रीसहितको टोलीसँग छलफल गरेका थियौँ।

त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उहाँहरूसँग छलफल गरी विपद् व्यवस्थापनमा आ–आफ्नो जिम्मेवारी अझ गम्भीर रूपमा निर्वाह गर्ने निर्णय भएको थियो।

सम्माननीय सभामुखज्यू,

विपद्पश्चात् खोज, उद्धार, उपचार, राहत तथा व्यवस्थापनदेखि पुनर्स्थापनाको चरणसम्म खटिनुहुने सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, मन्त्रिपरिषद्का सदस्य, प्रदेश तथा स्थानीय सरकार, राजनीतिक दल, जनप्रतिनिधि, स्थानीयवासी, स्वयंसेवी संस्था, आमनागरिक, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थालगायत सम्पूर्ण सरोकारवालाप्रति सरकार आभार व्यक्त गर्दछ।

आगामी दिनमा पनि निरन्तर साथ र सहयोगका लागि हामी आग्रह गर्दछौँ।

सरकार हिजो पनि तपाईंसँगै थियो, आज पनि छ र भोलि पनि रहनेछ।

धन्यवाद।’

 

अन्तर्राष्ट्रिय प्रविधि र दक्ष उद्धार टोली आउन ढिला भयो : आङ्देम्बे

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी बाढीपछि सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आङ्देम्बेले सुरुङभित्र फसेकाहरूको उद्धारमा भइरहेको ढिलाइलाई अमानवीय र गम्भीर विषय भएको जिकिर गरेका हुन्।

उनले अझै ६२ जिल्लाका ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको विवरण आएको भन्दै खोज तथा उद्धारलाई तत्काल प्रभावकारी बनाउन प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराए।

‘खोज तथा उद्धार अहिले सबैभन्दा बढी खड्किएको विषय हो। अझै पनि ६२ जिल्लाका ३ हजार ९१६ नागरिक सम्पर्कविहीन छन्। समयक्रममा यो संख्या अझै बढ्न सक्छ,’ उनले भने।

आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको अवस्था थप जोखिमपूर्ण बन्दै गएको भन्दै उद्धारमा ढिलाइ गर्नु गम्भीर गल्ती हुने बताए।

उनका अनुसार सुरुदेखि नै सरकारी संयन्त्रसँगै निजी क्षेत्रका स्रोतसाधन प्रयोग गरी आवश्यक परे अन्तर्राष्ट्रिय प्रविधि र दक्ष उद्धार टोलीसमेत परिचालन गर्नुपर्ने थियो।

उनले खोज तथा उद्धारलाई तत्काल सरकारको पहिलो प्राथमिकता बनाएर उपलब्ध सबै स्रोत र प्रविधि परिचालन गर्न आग्रह गरे।

सुरुङभित्र फसेकाको उद्धारमा ढिलाइप्रति कांग्रेसको आपत्ति, ‘सरकारको भूमिका गम्भीर देखिएन’

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि सुरुङभित्र फसेका नागरिकको खोजी तथा उद्धारमा भइरहेको ढिलाइप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले यस्तो संवेदनशील अवस्थामा उद्धारमा भएको ढिलाइलाई अमानवीय र गम्भीर विषयका रूपमा लिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै आङ्देम्बेले बाढीपछि ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेको र उनीहरूको अवस्था अझै यकिन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार पछिल्लो विवरणमा ६२ जिल्लाका ३ हजार ९१६ जना नागरिक अझै सम्पर्कविहीन रहेको जानकारी आएको छ।

उनले सम्पर्कविहीनको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै सरकारले खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए।

‘खोज तथा उद्धार अहिले सबैभन्दा बढी खड्किएको विषय हो। अझै पनि ६२ जिल्लाका ३ हजार ९१६ नागरिक सम्पर्कविहीन भएको विवरण आएको छ,’ उनले भने, ‘समयक्रममा यो संख्या अझै बढ्न सक्छ। सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो।’

आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको अवस्था यकिन गर्न ढिला गर्नुले उनीहरूको जीवन थप जोखिममा पार्न सक्ने बताए। बाढी र पहिरोपछि सुरुङ तथा जलविद्युत् आयोजनाका संरचनामा फसेका व्यक्तिको उद्धारका लागि उपलब्ध सबै स्रोतसाधन तत्काल परिचालन गर्नुपर्ने उनको भनाइ छ।

उनले उद्धार कार्यलाई केवल सरकारी संयन्त्रमा सीमित नराखी आवश्यकताअनुसार निजी क्षेत्र, सुरक्षा निकाय, विज्ञ तथा अन्तर्राष्ट्रिय उद्धार टोलीको समेत सहयोग लिनुपर्ने बताए। विपद्को प्रकृति जटिल भए त्यसअनुसार अत्याधुनिक उपकरण र दक्ष जनशक्ति परिचालन गर्न सरकार पछि हट्न नहुने उनको धारणा छ।

आङ्देम्बेले सुरुदेखि नै सम्भावित सबै विकल्प प्रयोग गरेर खोजी तथा उद्धारमा केन्द्रित हुनुपर्ने बताएका छन्। उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै निजी क्षेत्रका प्राविधिक तथा उद्धारकर्मीलाई पनि आवश्यकताअनुसार परिचालन गर्न सकिन्थ्यो।

विशेषगरी सुरुङभित्रको उद्धार सामान्य उद्धारभन्दा फरक र प्राविधिक रूपमा जटिल हुने भएकाले सम्बन्धित क्षेत्रका विज्ञ र आवश्यक प्रविधि तत्काल जुटाउनुपर्ने उनले बताए। कुनै स्थानमा नेपाली जनशक्ति र उपकरणबाट उद्धार सम्भव नभए अन्तर्राष्ट्रिय सहयोग लिन ढिला गर्न नहुने उनको भनाइ छ।

उनले विपद्को समयमा सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि बताए। विभिन्न निकायसँग रहेको सूचना एकीकृत गर्दै सम्पर्कविहीन नागरिकको यकिन विवरण तयार पार्नुपर्ने र सोही आधारमा खोजी अभियान सञ्चालन गर्नुपर्ने उनले उल्लेख गरे।

बाढीपछि प्रभावित क्षेत्रमा नागरिक आफन्तको खोजीमा रहेका बेला राज्यका सबै संयन्त्रले संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिँदै आङ्देम्बेले उद्धारमा हुने प्रत्येक ढिलाइले पीडित परिवारको चिन्ता थप बढाउने बताए।

उनले सरकारलाई तत्काल खोज तथा उद्धारको अभियानलाई अझ तीव्र बनाउन, सुरुङमा फसेका नागरिकको अवस्था पत्ता लगाउन आवश्यक प्रविधि प्रयोग गर्न तथा उपलब्ध स्वदेशी र विदेशी दक्ष जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले रसुवा बाढीबारे के भने?

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट सिर्जित संकटलाई कुनै एक जिल्ला वा क्षेत्रको समस्या मात्र नभई सिंगो नेपालको साझा पीडा भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले विपत्तिको सामना गर्न सरकार दृढ संकल्प र साहसका साथ अघि बढिरहेको बताए।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको पीडा सम्पूर्ण नेपालीको साझा पीडा भएको उल्लेख गरे। विपत्तिपछि नागरिकका मन भक्कानिएको भए पनि अहिले एकअर्कासँग बिलौना गरेर बस्ने समय नभएको उनको भनाइ छ।

‘यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन,’ प्रधानमन्त्री शाहले भने, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र होइन। यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो।’

उनले संकटको समयमा राज्यको नेतृत्वले आँसु देखाउनेभन्दा नागरिकलाई हिम्मत, आड र भरोसा दिनुपर्ने बताए। विपत्तिसँग जुध्न सरकारसँग पछि हट्ने विकल्प नरहेको भन्दै उनले दृढ संकल्प र साहसका साथ उद्धार तथा राहतको काम अघि बढिरहेको जानकारी दिए।

‘संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ,’ उनले भने, ‘दृढ संकल्प र साहसका साथ हामीले लड्नुको विकल्प छैन र थिएन। हामी लडिरहेका छौँ।’

प्रधानमन्त्री शाहले जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धार निकै जटिल प्रकृतिको रहेको बताए। उनका अनुसार सामान्य पहिरो पन्छाएर सुरुङमा प्रवेश गर्ने अवस्थाभन्दा अहिलेको परिस्थिति फरक छ। बाढीसँगै आएको लेदो, माटो तथा अन्य सामग्रीले सुरुङ पूर्ण रूपमा थुनिएकाले उद्धारमा थप चुनौती देखिएको उनको भनाइ छ।

‘यो टनेलमा आएको विपत्ति विशेष किसिमको छ। पहिरो पन्छाएर उद्धार गर्ने विज्ञ विश्वभरि पाइन्छ। तर यो पहिरोका कारण थुनिएको टनेल होइन। बाढीसँगै आएको हिलो र माटोले पूर्ण रूपमा थुनिएका टनेल हुन्,’ प्रधानमन्त्रीले भने।

उनले यस्तो प्रकृतिको उद्धारका लागि तत्काल प्रयोग गर्न सकिने प्रविधि र विशेषज्ञता विश्वका कुनै पनि मुलुकसँग सहज रूपमा उपलब्ध नभएको दाबी गरे। उद्धारका लागि आवश्यक प्राविधिक जनशक्ति तथा उपकरण जुटाउन समय लाग्नुको कारण पनि यही भएको उनले स्पष्ट पारे।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा उद्धार टोली पुग्नसमेत भौगोलिक अवस्थाका कारण कठिनाइ भएको बताए। हेलिकोप्टर अवतरण गर्ने ठाउँ नहुँदा मित्रराष्ट्रबाट आउने उद्धार टोलीलाई समेत तत्काल परिचालन गर्न नसकिएको उनको भनाइ छ।

‘त्यहाँ अवतरण हुनसक्ने अवस्था नै थिएन। मित्र राष्ट्रका उद्धार टोलीहरू पनि त्यहाँ अवतरण गर्न सकिने स्थिति भएपछि मात्रै आउनुभएको हो,’ उनले भने।

लेदोले भरिएको क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीका उद्धारकर्मीलाई समेत उभिन सक्ने अवस्था नरहेको उनले बताए। उद्धारकर्मीहरू सुतेर तथा घिस्रिँदै सुरुङतर्फ पुग्ने प्रयास गरेको उल्लेख गर्दै उनले एक्साभेटर र हेलिकोप्टर राख्न मिल्ने सुरक्षित स्थान तयार भएपछि मात्रै थप उपकरण परिचालन गर्न सम्भव भएको बताए।

बेपत्ता नागरिकको पहिचान भएपछि परिवारले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार अन्तिम संस्कार गर्न सक्ने बताउँदै प्रधानमन्त्री शाहले यस विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरे।

अन्तर्राष्ट्रिय सहयोगका विषयमा पनि सरकारले सुरुदेखि नै मित्रराष्ट्रहरूसँग समन्वय गरिरहेको उनको दाबी छ। आवश्यकताअनुसार सहयोग लिन प्रक्रिया छोट्याएर प्रयास गरिएको र चीन तथा भारतबाट प्राविधिक जनशक्ति पठाइएको उनले जानकारी दिए।

प्रधानमन्त्री शाहले पछिल्लो विपत्तिलाई जलवायु परिवर्तनसँग समेत जोड्दै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताए। यस्तो विपत्तिलाई नेपालले मात्र सामना गर्ने विषय नभई अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने उनको भनाइ छ।

‘जलवायु परिवर्तनका कारण हामीमाझ यस्तो विपद् आइलाग्यो। हिमालय क्षेत्रमा जोखिम बढेको यसले देखाउँछ। त्यसैले यो विपत्तिबारे हामीले अन्तर्राष्ट्रिय समुदायलाई भन्नुपर्छ। यो विश्वको साझा जिम्मेवारी हो,’ प्रधानमन्त्री शाहले भने।

बाढीपछि के गर्दैछ सरकार ? के भन्छन् प्रधानमन्त्री?

काठमाडौं। १० भदौमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले युद्धस्तरमा खोज तथा उद्धारदेखि राहत, उपचार र पुनःस्थापनासम्मका काम अघि बढाएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।

तर सरकारको दाबी र प्रभावित क्षेत्रको वास्तविक अवस्थाबीच भने अझै ठूलो अन्तर देखिन्छ। बाढीबाट प्रत्यक्ष प्रभावित नागरिकको पीडा, बेपत्ता आफन्तको खोजी र राहतको पर्खाइले सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाइरहेको छ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीको सूचना प्राप्त भएलगत्तै सरकार उच्च सतर्कतामा बसेर प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखी काम अघि बढाएको जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेर प्रभावितको खोजी, उद्धार र राहतलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायलाई तत्काल परिचालन गरिएको थियो। घटना भएकै दिन बिहान मनसुन प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक बसेर बाढीको अवस्था, खोज तथा उद्धार, सुरक्षा व्यवस्थापन, स्वास्थ्य सेवा र राहत परिचालनबारे समन्वय सुरु गरिएको उनको भनाइ छ।

बाढीपछि जोखिम बढेकाले पृथ्वी राजमार्गको गल्छी, नुवाकोट, रसुवाको स्याफ्रुबेसी तथा मुग्लिङ–नारायणगढ सडकखण्डमा तत्काल यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको थियो। जोखिमयुक्त क्षेत्रमा आवतजावत रोक्दै नागरिकको सुरक्षालाई प्राथमिकता दिन स्थानीय प्रशासनलाई निर्देशन दिइएको प्रधानमन्त्रीले बताए।

उद्धार अभियानलाई तीव्र बनाउन रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको र आवश्यकताअनुसार थप हवाई तथा स्थल उद्धारका स्रोतसमेत जुटाइएको उनको भनाइ छ।

सरकारले तत्काल खर्च व्यवस्थापनका लागि रसुवा र नुवाकोटका जिल्ला विपद् व्यवस्थापन कोषमा १–१ करोड रुपैयाँ तथा धादिङको कोषमा ५० लाख रुपैयाँ थप निकासा गरेको थियो। बाढीमा घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था मिलाइएको तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालमार्फत उपचारको प्रबन्ध गरिएको प्रधानमन्त्रीले संसद्लाई जानकारी दिए।

घाइते तथा बिचल्लीमा परेका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सार्न गृह र रक्षा मन्त्रालयलाई जिम्मेवारी दिइएको थियो। घरबार गुमाएका नागरिकका लागि सुरक्षित स्थानमा खाने र बस्ने व्यवस्था मिलाउने जिम्मेवारी गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद् व्यवस्थापन समितिलाई दिइएको थियो।

त्यस्तै, बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउने तथा प्रभावित क्षेत्रमा खानेपानीको व्यवस्था गर्ने जिम्मेवारी पूर्वाधार विकास मन्त्रालयलाई दिइएको थियो। विद्युत् आपूर्ति पुनः सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण तथा अवरुद्ध दूरसञ्चार सेवा सञ्चालन गर्न सञ्चारसम्बन्धी मन्त्रालयलाई जिम्मेवारी दिइएको प्रधानमन्त्रीले बताए।

बाढीमा ज्यान गुमाएकाका परिवारलाई कानुनअनुसार आर्थिक सहायता उपलब्ध गराउने तथा क्षतिग्रस्त सार्वजनिक संरचना र भौतिक पूर्वाधारको पुनःसञ्चालन एवं पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापनमा समन्वय गर्ने जिम्मेवारीसमेत तोकिएको थियो।

सरकारले प्रभावित जिल्लाका स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको पनि प्रधानमन्त्री शाहले बताए। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ अनुसार यस्तो निर्णय गरिएको उनको भनाइ छ।

प्रभावित नागरिकको खोज, उद्धार, राहत र घाइतेको उपचारमा सहयोग गर्न प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न संघ–संस्थालाई समेत सरकारले आह्वान गरेको थियो। संघ, प्रदेश र स्थानीय सरकारबीच निरन्तर समन्वय भइरहेको दाबी गर्दै प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा पुग्दा बागमती प्रदेशका मुख्यमन्त्रीसहितको टोलीसँग समेत छलफल गरिएको बताए।

उनले भने, ‘सुरुवातदेखि नै प्रदेश सरकार, स्थानीय सरकार र जनप्रतिनिधिसँग निरन्तर संवाद भइरहेको थियो।’

तर सरकारी दाबी यतिमै सकिँदैन, प्रभावितको गुनासो पनि त्यत्तिकै गम्भीर छ। बाढीपछि सरकारको भूमिका मुख्यतः उद्धार, राहत, समन्वय र व्यवस्थापनमै सीमित र सुस्त देखिएको आरोप प्रभावित पक्षले लगाउँदै आएको छ।

बाढीमा बेपत्ता नागरिकको खोजी तत्काल र प्रभावकारी रूपमा अघि बढ्न नसक्दा आफन्तहरू अझै अनिश्चितताको अवस्थामा छन्। टिचिङ अस्पतालमा आफन्तको तस्वीर टाँसिएका सूचना र तस्वीर हेर्दै बेपत्ताको खोजीमा भौंतारिने परिवारको भीडले विपद्पछिको पीडा कति गहिरो छ भन्ने देखाउँछ।

दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा फसेका नागरिकसम्म राहत र उद्धार पुग्नसमेत ढिलाइ भयो। उद्धारमा खटिएका सुरक्षा निकायसँग पर्याप्त आधुनिक उपकरण र प्रविधि नहुँदा कठिन भूगोलमा खोज तथा उद्धार अभियान झनै चुनौतीपूर्ण बन्यो।

त्यसैगरी संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय व्यवहारमा अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको देखियो। राजनीतिक दल, निजी क्षेत्र, स्वयंसेवी संस्था र नागरिक समाजसँग उपलब्ध स्रोत र जनशक्तिलाई एउटै प्रभावकारी कमान्ड र कार्ययोजनाअन्तर्गत परिचालन गर्न पनि सरकार चुकेको देखिन्छ।

राहतका लागि बजेट, खाद्यान्न, औषधि तथा आवश्यक सामग्री तत्काल प्रभावित क्षेत्रमा पुर्‍याउनुपर्ने अवस्थामा प्रशासनिक प्रक्रिया र निर्णयगत ढिलाइले समस्या थप्यो। विपद्को पहिलो घडीमा तीव्र निर्णय, तत्काल परिचालन र एकीकृत कमान्ड आवश्यक पर्ने भए पनि त्यसअनुसारको चुस्त संयन्त्र मैदानमा प्रभावकारी रूपमा नदेखिएको छ।

प्रधानमन्त्री दैवी उद्धार कोषमा ७ अर्ब ८८ लाख रुपैयाँ जम्मा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले उक्त रकम जम्मा भएको जानकारी दिएका हुन्।

उनले विपद् व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ निकासा गरिएको बताए।

उक्त रकममध्ये हालसम्म १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको उनले जानकारी दिए।

प्रभावित स्थानीय तहमा सिधै बजेट पठाएर राहत र पुनःस्थापनाका काम अघि बढाइएको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै विपद्मा नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए।

‘भोटेकोशीको विपत्ति सिंगो नेपालको पीडा हो’

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङलाई मात्रै नभई सिंगो मुलुकलाई गहिरो पीडा दिएको बताएका छन्।

‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो। तर यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन,’ उनले भने। 

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपत्तिबाट प्रभावित नागरिकको दुःखप्रति सरकार गम्भीर रहेको बताए। आफन्त अझै सम्पर्कमा नआएका र उनीहरूको खोजीको प्रतीक्षामा रहेका परिवारको पीडा आफूले महसुस गरेको उनको भनाइ छ।

बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले प्रभावित परिवारप्रति समवेदना व्यक्त गरे।

प्रधानमन्त्री शाहले संकटको समयमा निराश भएर बस्ने वा एकअर्कासँग दुःख व्यक्त गरेर मात्र समय बिताउने अवस्था नरहेको बताए। यस्तो कठिन घडीमा राज्यको नेतृत्वले जनतामा आशा, साहस र भरोसा जगाउनुपर्ने उनको भनाइ छ।

उनले विपत्तिसँग जुध्न सरकार दृढताका साथ अघि बढिरहेको दाबी गरे। परिस्थितिले चुनौतीपूर्ण बनाए पनि नागरिकको जीवनरक्षा, उद्धार तथा राहतका लागि सरकारसँग पछि हट्ने विकल्प नरहेको उनले बताए। 

उनले अगाडि थपे,‘दृढ सङ्कल्प, साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन। हामी लडिरहेका छौँ।’ 

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले बाढीपछि सरकारले तत्काल थालेका खोजी तथा उद्धार, घाइतेको उपचार, राहत वितरण र प्रभावित नागरिकको सुरक्षाका लागि भइरहेका प्रयासबारे पनि प्रतिनिधिसभालाई जानकारी गराएका छन्।

लड्नु बाहेक विकल्प छैन – प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दृढताका साथ विपत्तिसँग लड्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सरकार जनताको साथमा रहेको जिकिर गरेका हुन्।

उनले भने, ‘संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ। त्यसैले दृढ साहसका साथ हामीले यो विपत्तिको सामना गर्न बाहेक अर्को विकल्प छैन।’

बैठकमा प्रधानमन्त्री शाहले भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति, खोज तथा उद्धार, राहत र पुनःस्थापनाबारे संसद्लाई जानकारी गराइरहेका छन्।

बाढीबाट ठूलो जनधनको क्षति भएको छ भने अझै हजारौँ व्यक्ति सम्पर्कविहीन छन्।

प्रधानमन्त्री बालेनको सम्बोधन [लाइभ]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा सम्बोधन सुरु गरेका छन्।

संसद्को रोष्ट्रममा उभिएर प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न परिस्थितिबारे जानकारी गराइरहेका छन्। उनले बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको खोजी तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका कामबारे सांसदहरूलाई जानकारी दिइरहेका छन्।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवालगायत आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीपछि बेपत्ताको खोजी, प्रभावितको उद्धार तथा राहत वितरणका काम जारी छन्।

यसैबीच, प्रधानमन्त्री शाह बाढीपछिको अवस्थाबारे संसद्लाई जानकारी गराउन बैठकमा उपस्थित भएका हुन्। हाल उनी प्रतिनिधिसभाको रोष्ट्रममा पुगेर सम्बोधन गरिरहेका छन्।

‘सुरुङको अवरोध हटाउन तीन/चार महिना लाग्छ’ [भिडियो]

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि जलविद्युत् आयोजनाका सुरुङमा थुप्रिएको माटो, ढुंगा र अन्य सामग्री हटाएर खोजी तथा उद्धार अघि बढाउन लामो समय लाग्ने नेपाली सेनाले जनाएको छ।

धुन्चे उत्तरको फिल्ड अपरेसन कमाण्ड सम्हालिरहेका नेपाली सेनाका अधिकारी उज्वलविक्रम राणाका अनुसार सुरुङभित्रको अवस्था निकै जटिल रहेकाले केही दिनमै अवरोध हटाएर उद्धार कार्य सहज बनाउने अवस्था छैन।

सुरुङमा थुप्रिएको सामग्रीको मात्रा अत्यधिक रहेकाले त्यसलाई पूर्ण रूपमा हटाउन तीनदेखि चार महिनासम्म लाग्न सक्ने उनले बताए। ‘टनेलभित्र जम्मै जमेका कुराहरू निकाल्न दुई–तीन दिनमै हुन सक्ने सम्भावना देख्दिनँ। त्यसलाई तीनदेखि चार महिनामा पनि निकाल्न नसकिने अवस्था मैले आफैंले देखेको छु,’ उनले भने। 

उनका अनुसार सुरुङको वास्तविक अवस्था प्रत्यक्ष अवलोकन गर्दा तत्कालै सबै अवरोध हटाउने सम्भावना देखिएको छैन।

राणाका अनुसार उनको कमाण्डअन्तर्गत जलविद्युत् आयोजनाका चारवटा सुरुङ छन्। तीमध्ये रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी तथा उद्धार अघि बढाउन कठिन भएपछि हालका लागि काम रोकिएको छ। सुरुङको तल्लो भाग पानी र माटो तथा अन्य सामग्रीले भरिएको र त्यहाँ जीवित व्यक्ति भेटिने सम्भावना न्यून देखिएपछि आयोजनाका इन्जिनियरसँगको समन्वयमा खोजी कार्य स्थगित गरिएको हो।

तर चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा भने खोजी तथा उद्धार अभियान जारी छ। सुरुङभित्र अझै कोही जीवित व्यक्ति रहेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सेनाको टोली परिचालन भइरहेको छ।

लाङटाङतर्फ रहेको अर्को सुरुङमा उद्धार टोली करिब ६४ मिटरभित्रसम्म पुगेको थियो। त्यसपछि सुरुङ क्रमशः साँघुरिँदै गएपछि मानिस प्रवेश गर्नसमेत कठिन अवस्था आएको सेनाले जनाएको छ। कतिपय स्थानमा करिब दुई फिट मात्र खाली ठाउँ रहेकाले घिस्रिएर अघि बढ्नुपर्ने अवस्था रहेको राणाले बताए।

त्यस्तै, २१६ नम्बरको सुरुङमा पनि पुनः खोजी तथा उद्धारको प्रयास थालिएको छ। यसअघि पाँचपटक प्रवेशको प्रयास गरिए पनि सुरुङभित्र छातीसम्म आउने गरी माटो, ढुंगा तथा अन्य सामग्री थुप्रिएका कारण टोली अघि बढ्न सकेको थिएन।

सेनाका अनुसार बाढीपहिरोबाट रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। नदी तथा खोलाको बहावले कतिपय स्थानमा करिब पाँच मिटरसम्मको तहमा क्षति पुर्‍याएको छ भने स्याफ्रुबेँसीको ठूलो हिस्सा बाढीले बगाएको छ। टिमुरेमा पनि व्यापक भौतिक क्षति भएको सेनाले जनाएको छ।

बाढीका कारण सडक तथा सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धारका लागि आवश्यक उपकरण र ठूला मेसिन प्रभावित क्षेत्रमा पुर्‍याउन कठिन भएको छ। अहिले प्रभावित क्षेत्रमा आवतजावत तथा उद्धारका लागि हवाई माध्यममा निर्भर हुनुपर्ने अवस्था रहेको सेनाले जनाएको छ।

राणाका अनुसार सडक बगाएकाले भारी उपकरण सुरुङ क्षेत्रसम्म पुर्‍याउन नसकिएको हो। ‘बाटोको समस्या छ, खोलाले सबै बाटो लगेको छ। त्यसले गर्दा मेसिन लैजान नसकिएको हो। तर मेसिन गए पनि टनेलभित्र जमेको सामग्रीको अवस्था हेर्दा दुई–तीन दिनमै काम सकिने अवस्था छैन’ उनले भने। 

उपकरण पुगे पनि सुरुङभित्र थुप्रिएको सामग्रीको अवस्था हेर्दा केही दिनमै खोजी तथा उद्धारको काम पूरा हुने अवस्था नरहेको उनको भनाइ छ।

गण्डकीमा फणीन्द्र देवकोटा तेस्रोपटक मन्त्री [तस्वीरहरू]

पोखरा । नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन्। उनले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

देवकोटा यसअघि २०८१ जेठ र असारमा दुईपटक यही मन्त्रालयको मन्त्री बनेका थिए। माओवादीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि पहिलोपटक मन्त्री बनेका उनी माओवादीको कारबाहीमा परेका थिए। सर्वोच्च अदालतको आदेशपछि पुनर्बहाली भएका थिए।

एमाले सरकारबाट बाहिरिएपछि रिक्त भएको भौतिक पूर्वाधार, विकास तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कांग्रेसका नन्दप्रसाद न्यौपानेलाई दिइएको छ। एमालेले छाडेका उद्योग तथा पर्यटन र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय भने मुख्यमन्त्री पाण्डेले आफैँसँग राखेका छन्।

देवकोटाको पुनः नियुक्तिसँगै २०७९ को निर्वाचनमा गोरखाबाट प्रत्यक्ष निर्वाचित चारमध्ये तीन जना सरकारमा पुगेका छन्। गोरखा–२ (ख) का पाण्डे मुख्यमन्त्री, गोरखा–२ (क) का देवकोटा मन्त्री र गोरखा–१ (ख) का न्यौपाने मन्त्री छन्। गोरखा–१ (क) का कृष्णप्रसाद धिताल सभामुख छन्।

५९ सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७ सांसद छन्। देवकोटा र राप्रपाका दुई सांसदको समर्थनसहित मुख्यमन्त्री पाण्डेको पक्षमा ३० सांसद पुगेका छन्।


 

संवैधानिक निकायका पदाधिकारीलाई २ वर्ष ‘कुलिङ अफ पिरियड’ प्रस्ताव

काठमाडौं । संवैधानिक निकायका पदाधिकारीलाई पदबाट अवकाश पाएपछि दुई वर्षसम्म ‘कुलिङ अफ पिरियड’ राख्ने प्रस्ताव गरिएको छ।

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ मा संशोधन प्रस्ताव राख्दै एमाले सांसद एशुदाकुमारी बरालले यस्तो व्यवस्था गर्न माग गरेकी हुन्।

हाल प्रचलित ऐनको दफा १८ मा संवैधानिक निकायका पदाधिकारीले पदबाट अवकाश पाएपछि निवृत्तभरण वा उपदान पाउने व्यवस्था छ।

बरालले यही व्यवस्थामा संशोधन गर्दै अवकाशपछि दुई वर्षसम्म निश्चित जिम्मेवारी वा नियुक्तिमा रोक लगाउने ‘कुलिङ अफ पिरियड’को प्रावधान प्रस्ताव गरेकी हुन्।

‘जुठे’ र ‘हल्का रमाइलो’का कलाकार राहत लिएर बाढी प्रभावित क्षेत्रमा

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’सहित टेलिभिजन श्रृंखला ‘जुठे’ र ‘हल्का रमाइलो’का कलाकार बाढी प्रभावित क्षेत्रमा राहत वितरणमा जुटेका छन्।

टोलीले सोमबार नुवाकोटको त्रिशूली–११ गेर्खु र विदुर–२ का ३० भन्दा बढी परिवारलाई लत्ताकपडा, खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको छ। करिब १ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको बल्छी धुर्बेले बताए।

टोली दोस्रो चरणको राहत वितरणका लागि रसुवाको उत्तरगया गाउँपालिकातर्फ गएको छ। बल्छी धुर्बेसहित बान्द्रे, पुकु र साहुनी पात्रका कलाकार राहत वितरणमा सहभागी छन्। स्थानीय खगेन्द्र पोखरेलले समन्वय गरिरहेका छन्।

बल्छी धुर्बेका अनुसार प्रभावितहरूले सरकारी राहत समयमै नपाएको गुनासो गरेका छन्। उनले राहत सामग्री होल्डिङ सेन्टरमा थन्क्याएर राख्नुभन्दा तत्काल प्रभावित परिवारसम्म पुर्‍याउन सरकारसँग आग्रह गरे।

उनले राहत वितरणमा एकद्वार प्रणालीभन्दा बहुद्वार नीति अपनाउनसमेत सरकारलाई सुझाव दिएका छन्।

‘मलाई इरानसँग कुनै सम्झौता गर्न जरुरी छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता वा सम्झौता गर्न आफूले कुनै पहल नगरेको बताएका छन्। उनले आफ्नो प्रशासनले तेहरानलाई वार्ताको टेबलमा ल्याउन दबाब दिइरहेको भन्ने समाचारलाई अस्वीकार गरेका छन्।

ट्रम्पले मंगलबार राति सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत एबीसी न्युजमा प्रकाशित रिपोर्टको खण्डन गर्दै त्यसलाई ‘फेक न्युज’ भनेका हुन्। इरानसँग सम्झौता गर्ने आफ्नो कुनै इच्छा नरहेको उनको भनाइ छ।

ट्रम्पले अहिलेको परिस्थितिप्रति आफू सन्तुष्ट रहेको उल्लेख गर्दै होर्मुज जलडमरूमध्यमा अमेरिकी नियन्त्रण बलियो रहेको र इरानको अर्थतन्त्र कमजोर बन्दै गएको दाबी गरेका छन्।

उनले इरानले आफूहरूले रोक्न नसक्ने प्रक्रियालाई केही समय लम्ब्याउने प्रयास मात्र गरिरहेको आरोपसमेत लगाए। साथै, इरानी जनताले आफ्नो अधिकारका लागि कहिले आवाज उठाउने हुन् भन्दै उनले प्रश्न गरेका छन्।

ट्रम्पको यो अभिव्यक्ति आउनुअघि अमेरिकी सेनाले होर्मुज जलमार्ग आसपास इरानी क्षेत्रमा गरेको पछिल्लो आक्रमणको उनले बचाउ गरेका थिए। इरानले त्यसको जवाफ दिए अमेरिकाले अझ कडा कारबाही गर्ने चेतावनीसमेत उनले दिएका थिए।

यता, इरानले भने अमेरिकी सेनाले सर्वसाधारणमाथि आक्रमण गरेको आरोप लगाएको छ। इरानी अधिकारीहरूका अनुसार विवाह समारोह भइरहेको स्थानलाई अमेरिकी सेनाले निशाना बनाउँदा पाँच जनाको मृत्यु भएको र ६० भन्दा बढी मानिस घाइते भएका छन्।

रसुवा बाढी उद्धारमा अमेरिकी विज्ञ टोली, सुरुङभित्र फसेकाको खोजीमा अत्याधुनिक प्रविधि प्रयोग गरिँदै

काठमाडौं । रसुवा र आसपासका क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेपछि उद्धार तथा खोजी कार्यलाई तीव्र पारिएको छ। बाढीबाट प्रभावित परिवारको उद्धार, राहत वितरण र बेपत्ताको खोजीका लागि स्वदेशी सुरक्षाकर्मीसँगै अन्तर्राष्ट्रिय विज्ञ टोली पनि परिचालन हुन थालेका छन्।

यसैक्रममा संयुक्त राज्य अमेरिकाको ‘क्राइसिस रेस्पोन्स इन्टरनेसनल’बाट १३ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको छ। टोलीले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा केन्द्रित भएर खोजी तथा उद्धार अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

बाढीपछि सुरुङभित्र केही मानिस अझै जीवित रहेको हुन सक्ने आशा गरिएको छ। यही सम्भावनालाई ध्यानमा राखेर अमेरिकी टोलीले विशेष उपकरणसहित उद्धार योजना अघि बढाएको हो।

टोलीका सदस्य फेरिन कोलका अनुसार सुरुङ क्षेत्रमा पुगेर मानिसको आवाज वा गतिविधि पत्ता लगाउन अत्याधुनिक ध्वनि सुन्ने उपकरण प्रयोग गरिनेछ। उपकरणबाट सुरुङभित्र रहेका व्यक्तिको सम्भावित आवाज तथा स्पन्दन पहिचान गरेपछि उद्धारकर्मीलाई भित्र प्रवेश गराउने योजना रहेको उनले बताए।

कोलले विपद्को कठिन परिस्थितिमा पनि नेपाली नागरिकले देखाएको धैर्य र साहसको प्रशंसा गरेका छन्। आफ्ना प्रियजन गुमाएका परिवारको अवस्था अत्यन्तै पीडादायी रहेको उल्लेख गर्दै उनले उद्धार अभियानमा सहभागी हुन पाउनु आफ्नो टोलीका लागि महत्वपूर्ण अवसर भएको बताए।

उनका अनुसार टोलीको प्रारम्भिक योजना हेलिकोप्टरमार्फत जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रसम्म पुगेर अवस्थाको निरीक्षण गर्ने रहेको छ।

यता अर्का उद्धारकर्मी डेरिक स्पेन्सरले सुरुङभित्र प्रवेश गर्नु निकै जोखिमपूर्ण रहेको बताएका छन्। टोली सुरुङको प्रवेशद्वारसम्म पुगे पनि भित्रको अवस्था चुनौतीपूर्ण देखिएपछि थप सुरक्षा उपाय अपनाउनुपर्ने अवस्था आएको उनको भनाइ छ।

सुरुङभित्र प्रवेशका लागि डोरीलगायत विशेष सुरक्षा उपकरणको प्रयोग गर्ने तयारी गरिएको छ। उद्धार अभियानलाई सुरक्षित र प्रभावकारी बनाउन थप जनशक्ति तथा विभिन्न निकायबीच समन्वय आवश्यक रहेको स्पेन्सरले बताए।

उनका अनुसार अमेरिकी विज्ञ टोलीले स्थानीय बासिन्दा र सशस्त्र प्रहरीसँग सहकार्य गर्दै खोजी तथा उद्धार अभियान अघि बढाइरहेको छ। बाढीमा बेपत्ता भएकाहरूको सकुशल उद्धार हुने आशामा अहिले रसुवाको सुरुङ क्षेत्रमा उद्धारकर्मीको ध्यान केन्द्रित भएको छ।

ग्लोबल आईएमई बैंकले १० प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारणसभाबाट पारित गराई सेयरधनीलाई वितरण गरिनेछ।

भोटेकोशी बाढी प्रभावित थप तीन स्थानमा नेपाल टेलिकमको सेवा सञ्चालन

काठमाडौं । भोटेकोशी बाढीका कारण प्रभावित नेपाल टेलिकमका थप तीनवटा साइट पुनः सञ्चालनमा आएका छन्। मंगलबार धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थप्रेक र पुसनटार साइट सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ।

कल्लेरी साइट सञ्चालनमा आएपछि आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी र बेल्टारलगायत क्षेत्रका सेवाग्राहीले पुनः दूरसञ्चार सेवा पाउने भएका छन्।

त्यस्तै, भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी र रालुकादेवी क्षेत्र तथा पुसनटार साइटबाट पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली र भुवानीवेशीलगायत स्थानका सेवाग्राही लाभान्वित हुनेछन्।

बाढीका कारण प्रभावित नेपाल टेलिकमका कुल १२० साइटमध्ये अब ११३ वटा पुनः सञ्चालनमा आएका छन्। यससँगै बाढीअघि नेटवर्क सेवा उपलब्ध रहेका सबै क्षेत्रमा दूरसञ्चार पहुँच पुनः स्थापित भएको टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार हाल आंशिक क्षमतामा सञ्चालन भइरहेका साइटहरूको क्षमता पनि क्रमशः बढाएर पूर्ण रूपमा सेवा सञ्चालनमा ल्याउने काम भइरहेको छ।

भोटेकोशी र त्रिशूलीसहित देशभरका नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । भोटेकोशी र त्रिशूलीसहित विभिन्न नदी तथा खोलामा आज पानीको बहाव बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी रसुवा र नुवाकोट हुँदै बग्ने नदीमा आकस्मिक बाढीको जोखिम उच्च रहेको छ।

महाशाखाकी बाढीविद् सरस्वती विष्टका अनुसार नेपाल–चीन सीमा आसपास बनेको ताल फुट्ने सम्भावना कायमै रहेकाले भोटेकोशी र त्रिशूली नदी आसपासका बासिन्दालाई थप सचेत रहन आग्रह गरिएको हो। वर्षाको सम्भावनासमेत रहेकाले आज र भोलि रसुवा तथा नुवाकोटमा बाढीको जोखिम उच्च रहने उनले बताइन्।

उनका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङलगायत जिल्लाका नदी तथा खोलामा पनि पानीको सतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर आसपासका नदी तथा खोलामा समेत बहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले साना नदी तथा खोलामा समेत एक्कासि बाढी आउन सक्ने भएकाले नदी किनार र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। नदी किनार हुँदै यात्रा गर्दा समेत सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रमा नजान महाशाखाले अनुरोध गरेको छ।

‘ग्रीन आर्मी नेपाल’को गतिविधिमाथि शंकर पोखरेलको प्रश्न, सरकारसँग मागे स्पष्ट जवाफ

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘ग्रीन आर्मी नेपाल’ नामक संस्थाको गठन, गतिविधि र वैधतामाथि गम्भीर प्रश्न उठाएका छन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत विद्यालय तहदेखि ५२ जिल्लासम्म संगठन विस्तार भएको दाबी गरिएको उक्त संस्थाको आर्थिक तथा सञ्चालन स्रोतबारे स्पष्ट पार्नुपर्ने बताएका छन्।

उनका अनुसार ‘ग्रीन आर्मी’लाई नेपाली सेनाले तालिम दिएको दाबी गर्दै विभिन्न तस्बिरसमेत सार्वजनिक भएका छन्। यही विषयलाई लिएर पोखरेलले विद्यालयमा राष्ट्रिय सेवा दलको व्यवस्था हुँदाहुँदै सेनाको स्वरूप झल्किने अर्को संगठन कसरी गठन भयो भन्ने प्रश्न गरेका छन्।

उनले भनेका छन्, ‘नेपाली सेनाले विद्यालयहरूमा राष्ट्रिय सेवा दल गठन गर्ने कुरा त सबैलाई थाहा थियो। तर सेवा दलको सट्टा ‘ग्रीन आर्मी’ बनाउन थालिएको हो? यदि होइन भने, सेनाजस्तै देखिने यस प्रकृतिको संगठन खोल्न र संगठित हुन दिनु कत्तिको उचित हो?’

यसबारे सरकारले आधिकारिक रूपमा स्पष्ट पार्नुपर्ने उनको माग छ।

विपद् उद्धारका लागि गठन गरिएको भनिएको उक्त संस्थाको भूमिकामाथि समेत पोखरेलले प्रश्न उठाएका छन्। देश गम्भीर विपद्को सामना गरिरहेका बेला संगठनको उपस्थिति कहाँ थियो भन्ने विषयमा उनले चासो व्यक्त गरेका हुन्।

विपद्को जोखिम कम हुँदै गएपछि मात्रै उक्त संस्था अचानक सक्रिय भएको देखिनुले थप शंका उत्पन्न गरेको पोखरेलको भनाइ छ। यस्ता गतिविधिले राहत तथा उद्धारमा सहयोग पुर्‍याउनुभन्दा समाजमा अन्योल, सन्देह र त्रास बढाउन सक्ने भन्दै उनले सम्बन्धित सरकारी निकायले तत्काल यस विषयमा छानबिन तथा स्पष्टता दिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गर्ने 

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बुधवार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।

संघीय संसद् सचिवालयका अनुसार बुधवार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेपछि प्रधानमन्त्रीले पहिलोपटक संसद्मार्फत समग्र अवस्थाबारे जानकारी गराउन लागेका हुन्। 

यसअघि प्रधानमन्त्री शाहले राष्ट्रका नाममा औपचारिक सम्बोधन गरेका छैनन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नियमित रूपमा बाढीबाट भएको क्षति, उद्धार तथा राहतका गतिविधिबारे जानकारी दिँदै आएका छन्।

अमेरिकाद्वारा रसुवा बाढीपीडितका लागि ४० टन राहत सामग्री सहयोग

काठमाडौं। रसुवा बाढीपीडितका लागि अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको छ।

राहत सामग्रीमा २ हजार ६ सय परिवारलाई पुग्ने पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट र सौर्य बत्ती छन्।

अमेरिकी दूतावासले नेपाल सरकार तथा साझेदार संस्थासँग समन्वय गरी प्रभावित क्षेत्रमा आवश्यक सहायता उपलब्ध गराइरहेको जनाएको छ।

नागढुंगा सुरुङमार्गबाट अधिकांश सवारी सञ्चालन

काठमाडौं । नागढुंगा पातले वनमा सडक भासिएपछि प्रभावित भएको सडकमा अहिले पेट्रोलियम पदार्थ बोकेका र दुईपाङ्ग्रे बाहेकका सवारीलाई नागढुंगा सुरुङमार्गबाट मुग्लिनतर्फ जान दिइएको छ।

सडक विभागका अनुसार पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकललाई भने भासिएको सडकबाट एकतर्फी सञ्चालनको व्यवस्था मिलाइएको छ।

भासिएको सडकको प्राविधिक अध्ययनपछि मर्मत सुरु गरिने र त्यसपछि पूर्ण रूपमा यातायात सञ्चालन गर्नेबारे निर्णय गरिने विभागले जनाएको छ।

फिल्म ‘रत्यौली’को छायांकन सुरु

काठमाडौं । नेपाली समाज, सम्बन्ध र संस्कृतिको कथा समेटिएको फिल्म ‘रत्यौली’को छायांकन सुरु भएको छ।

मुस्कान ढकालको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको मंगलबार पशुपति क्षेत्रमा पूजा गर्दै छायांकन शुभारम्भ गरिएको हो। दुई दिन काठमाडौंमा छायांकन गरेपछि निर्माण टोली दोलखाको जिरी जानेछ, जहाँ करिब एक महिना विभिन्न स्थानमा फिल्म खिचिनेछ।

फिल्ममा विजय बराल, पूजा शर्मा, लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारीलगायत कलाकारको अभिनय रहनेछ।

नाइटेङ्गल इन्टरटेनमेन्ट र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बन्ने फिल्मलाई पूजा शर्माले प्रस्तुत र सुरज आचार्यले निर्माण गर्नेछन्।

फिल्म आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा आउनेछ।

टाइम्स स्क्वायरमा छुरा प्रहार, एक महिला र संदिग्धको मृत्यु

एजेन्सी। अमेरिकाको न्युयोर्कस्थित व्यस्त टाइम्स स्क्वायर क्षेत्रमा भएको छुरा प्रहारमा एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन्।

न्युयोर्क प्रहरीका अनुसार क्वीन्सका ४९ वर्षीय संदिग्धले वेस्ट ४१ स्ट्रिट र सेभेन्थ एभिन्यू नजिकै ६८ वर्षीय पुरुषलाई छुरा प्रहार गरेको करिब २० सेकेन्डपछि ३२ वर्षीया महिलालाई समेत छुरा हानेका थिए।

दुवैलाई उपचारका लागि बेलेभ्यु अस्पताल लगिएकोमा महिलाको उपचारकै क्रममा मृत्यु भएको हो। घाइते पुरुषको उपचार भइरहेको छ।

घटनापछि भागेका संदिग्ध वन टाइम्स स्क्वायरनजिकै प्रहरीको सबस्टेसनतर्फ पुगेका थिए। प्रहरीले छुरा फाल्न पटक-पटक निर्देशन दिए पनि उनी छुरा लिएर प्रहरीतर्फ अघि बढेपछि गोली चलाइएको थियो।

गोली लागेर गम्भीर घाइते भएका संदिग्धको पनि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी आयुक्त जेसिका टिस्चले घटनामा आतंकवादसँग सम्बन्धित कुनै संकेत नदेखिएको बताएकी छन्। आक्रमणको कारण र उद्देश्यबारे अनुसन्धान भइरहेको छ।

न्युयोर्कका मेयर जोहरान ममदानीले प्रहरीको गोली प्रहारसम्बन्धी घटनाको समेत अनुसन्धान गरिने बताएका छन्।

बाढी प्रभावित जलविद्युत् आयोजनाको क्षति विवरण माग्दै नेप्से

काठमाडौं। भोटेकोशी र त्रिशूली क्षेत्रमा १० भदौमा आएको विनाशकारी बाढीले जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। 

हालसम्म ८ सञ्चालनमा रहेका र ४ निर्माणाधीन गरी १२ जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेको छ भने करिब ४३१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको छ।

बाढीबाट माथिल्लो त्रिशूली-३, रसुवागढी र चिलिमे जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेको छ। माथिल्लो मैलुङ खोलाको प्रसारण लाइन तथा इन्टरकनेक्सन संरचना र सूर्यकुण्ड हाइड्रोको १३२ केभी प्रसारण लाइनसमेत क्षतिग्रस्त भएको छ।

सान्जेन जलविद्युत् आयोजनाका उत्पादन केन्द्रमा प्रत्यक्ष क्षति नपुगे पनि प्रसारण लाइनमा क्षति हुँदा उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा पठाउन नसकिएको कम्पनीले बताएकाे छ। यसका कारण आयोजना बन्द गर्नुपर्ने अवस्था आएको छ।

बाढीकाे कारण आयोजना मात्रै नभई प्रसारण र विद्युत् निकासी प्रणालीमा समेत गम्भीर असर पारेको छ। अर्बौं रुपैयाँ लगानीमा निर्माण भएका संरचना क्षतिग्रस्त हुँदा ऊर्जा उत्पादनसँगै आयोजनामा कार्यरत प्राविधिक तथा कामदारसमेत प्रभावित भएका छन्।

क्षतिबाट कम्पनीको आम्दानी, नाफा, नगद प्रवाह र ऋण भुक्तानी क्षमतामा असर पर्न सक्ने भन्दै नेपाल धितोपत्र बोर्डले प्रभावित सूचीकृत कम्पनीको वास्तविक अवस्था सार्वजनिक गर्न चासो देखाएको छ।

बोर्डले प्रभावित कम्पनीको आयोजना, भौतिक क्षति, उत्पादन तथा प्रसारणमा परेको असर, बिमा र दाबीको अवस्था, प्रारम्भिक वित्तीय क्षति, पुनः सञ्चालनको सम्भावित समय तथा ऋण दायित्वमा पर्ने प्रभाव सार्वजनिक गर्न निर्देशन दिएको छ।

विपद्को अवस्थालाई आधार बनाएर प्रभावित कम्पनीको सेयरमा अस्वाभाविक उतारचढाव वा बजार चलखेल हुन सक्ने भन्दै बोर्डले नेपाल स्टक एक्सचेन्जलाई समेत विशेष निगरानी गर्न भनेको छ।

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप दिइँदै

बाँके । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि बाँकेमा करिब ६ हजार किशोरीलाई एचपीभी खोप दिइने भएको छ।

स्वास्थ्य कार्यालयका अनुसार भदौ ३० गतेदेखि जिल्लाका आठवटै स्थानीय तहमा अभियान सञ्चालन हुने जनाइएको छ।

कक्षा ६ मा अध्ययनरत किशोरीलाई प्राथमिकतामा राखेर विद्यालयबाट खोप दिइनेछ। त्यसपछि समुदायमा रहेका १० वर्षीया किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले जानकारी दिइन्।

खोप अभियानका लागि स्थानीय तह, विद्यालय र स्वास्थ्य संस्थाबीच समन्वय भइरहेको छ। एचपीभी खोप एक मात्रा मात्र दिइने स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ११४ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २९२ जना घाइते भएका छन्। हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ।

प्रहरीका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव फेला परेको छ।

अविरल वर्षाले कोदारीमा अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं। गएरातिदेखि परेको अविरल वर्षाका कारण अरनिको राजमार्गको कोदारी खण्ड अवरुद्ध भएको छ।

बाढी र पहिरोले सडकमा क्षति पुर्‍याएपछि यातायात ठप्प भएको हो।

सडक डिभिजन कार्यालय चरिकोटले गेग्रान हटाउने र सडक मर्मतको काम अघि बढाएको छ।

मौसम अनुकूल रहे बुधवार बेलुकासम्म सडक सञ्चालनमा ल्याउने तयारी छ।

रसुवा बाढीबारे संसद्लाई जानकारी दिँदै सरकार, सभामुखले विशेष प्रस्ताव राख्ने

काठमाडौं। रसुवामा आएको विनाशकारी बाढीका कारण स्थगित भएको प्रतिनिधिसभा बैठक बुधवार चल्ने भएको छ। 

बैठकमा बाढीमा भएको मानवीय तथा भौतिक क्षति र सरकारले अघि बढाइरहेको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाबारे सरकारले प्रतिनिधिसभालाई जानकारी गराउनेछ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा सरकारका तर्फबाट एक जना मन्त्रीले बाढीपछिको अवस्था र सरकारले गरिरहेको कामबारे जानकारी गराउने तयारी भएको संघीय संसद् सचिवालयले जनाएको छ।

यद्यपि, जानकारी गराउने मन्त्रीको नाम भने अहिलेसम्म टुंगो लागेको छैन।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार सरकारका तर्फबाट एक मन्त्रीले सदनलाई विपद्को अवस्थाबारे जानकारी गराउन सक्ने बताएका छन्। 

बुधवारको बैठकमा सभामुखले रसुवा बाढीसम्बन्धी विशेष प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यक्रम छ। त्यसअघि विभिन्न राजनीतिक दलका नेताहरूले सदनलाई सम्बोधन गर्नेछन्।

नेताहरूको सम्बोधनपछि सरकारका तर्फबाट मन्त्रीले बाढीबाट भएको क्षति, खोजी तथा उद्धारको अवस्था र आगामी तयारीबारे जानकारी दिने तयारी छ।

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावतीसहित नुवाकोटको त्रिशूली बजार, देवीघाट तथा धादिङ, चितवन र गोरखाका त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो।

बाढीपछि ठूलो संख्यामा मानिसको मृत्यु भएको तथा स्वदेशी र विदेशी नागरिकसमेत बेपत्ता रहेको विवरण सार्वजनिक भएका छन्। प्रभावित क्षेत्रमा अझै खोजी तथा उद्धारको काम जारी छ।

यसअघि मंगलबार राष्ट्रिय सभाले पनि रसुवा बाढीबारे विशेष प्रस्ताव पारित गरेको थियो। 

राष्ट्रिय सभाको बैठकमा सांसदहरूले विपद्बाट भएको क्षति र उद्धार तथा राहतको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका थिए। तर त्यहाँ सरकारका तर्फबाट बाढीबारे औपचारिक जानकारी प्रस्तुत गरिएको थिएन।

देवीघाटदेखि पृथ्वीनारायण शाहको दाहसंस्कार गरेको ढुंगा बग्यो

नुवाकोट । त्रिशूली र तादी नदीको संगमस्थल देवीघाटमा अहिले गेग्रानको थुप्रो छ । सात दिनपछि बल्ल मंगलबार स्काभेटर चलाएर ऐतिहासिक बजार सफा गर्न थालिएको छ ।

तर, बाढीले देवीघाटको बजार मात्रै डुबाएन । इतिहाससँग जोडिएका चिनो पनि बगाएर लग्यो ।

१० भदौको भीषण बाढीले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्य देवीघाटलाई क्षतविक्षत बनायो । बजारका घर-पसल गेग्रानले पुरिए ।

बजार क्षेत्रमै रहेको वृद्धाश्रम पनि डुबानमा पर्‍यो । भुइँतलामा रहेका आठ जना ज्येष्ठ नागरिकमध्ये छ जनाको मृत्यु भयो भने दुई जनाको उद्धार गरिएको थियो ।

देवीघाट आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको अन्तिम संस्कारसँग जोडिएको ऐतिहासिक स्थल हो ।

गोसाईकुण्ड क्षेत्रबाट बग्ने त्रिशूली र सूर्यकुण्ड क्षेत्रबाट आउने तादी नदीको संगममा शाहको अन्तिम संस्कार गरिएको इतिहाससँग जोडिएको छ ।

स्थानीय रामशरण वस्तीका अनुसार पृथ्वीनारायण शाहको दाहसंस्कार गरिएको भनिएको ढुंगा पनि यही संगमस्थलमा थियो । त्यसकै छेउमा जालपादेवी मन्दिर थियो ।

बगरको रातो कपडा भएको ठाउँ देखाउँदै उनले भने, ‘अहिले न ढुंगा छ, न मन्दिर।’

इतिहासअनुसार वि.सं. १८३१ मा नुवाकोट दरबार आएका बेला बिरामी परेपछि पृथ्वीनारायण शाहलाई उनकै इच्छाअनुसार देवीघाट ल्याइएको थियो । नौ दिन जलाश्रममा राखिएका शाहको पुस २७ गते देवीघाटमै निधन भएको बताइन्छ ।

अलिकति माथि पृथ्वीनारायण शाहको शालिक अझै उभिएको छ । तर, केही तल दाहसंस्कार गर्दाको ढुंगा छैन । बालुवाको थुप्रो छ । पुरानो पहिचान छैन ।

देवीघाट बजार फेरि बन्न सक्छ । गेग्रान हट्न सक्छ । मन्दिर पनि पुनर्निर्माण हुन सक्छ ।

तर, नदीले बगाएको पृथ्वीनारायण शाहको दाहसंस्कार गरिएको ढुंगा कहाँबाट ल्याउने ?  वस्तीले चिन्ता गरे ।

 

झोलुङ्गे पुल र मोटरेबल पुल बगाएपछि त्रिशूलीमा अब तुइन

नुवाकोट । झोलुङ्गे पुल र मोटरेबल पुल यही १० भदौमा तिब्बतको ल्हेन्देखोला हुँदै भोटेकोशी र त्रिशूलीमा आएको बाढीले बगाएपछि त्रिशूली नदीमा तुइन निर्माण थालिएको छ ।

सिम्बुटारदेखि त्रिशूली बजारमाथि गोम्बा क्षेत्रमा एउटा तुइन निर्माण भइरहेको हो । निर्माणको काम आधाउधी सकिएको छ ।

झोलुङ्गे पुल र मोटरेबल पुल दुवै भीषण बाढीले बगाएपछि नुवाकोट सदरमुकाम विदुर आसपासका बजारहरू देवीघाट, दम्की, ढुंगेबजारदेखि सिम्बुटारसम्मका मानिसहरू नदी पारिपट्टीको त्रिशूली बजार जान पाएका छैनन् ।

त्रिशूली बजारका मानिसहरू पनि वारिपट्टी आउन पाएका छैनन् । यही १० भदौमा त्रिशूली नदीमा बाढी आएपछि वारिका वारी र पारिका पारी नै भए ।

तत्काल मोटरेबल (बेलिब्रिज) पुल निर्माण सम्भव नहुने भएपछि मानिसहरू आवतजावतमा सहज होस् भनेर तुइन निर्माण थालिएको बागमती प्रदेश सांसद रमेश महतले बताए ।

यस्तै, देवीघाट क्षेत्रबाट पनि त्रिशूली बजारको तल्लो क्षेत्रलाई लक्षित गरी तुइन निर्माणको काम थालनी भएको छ ।

सरकार राहत बाँडेको फोटो देखाउँछ, बाढीपीडित भोकै

नुवाकोट। वीरबहादुर तामाङ फेरि आफ्नो घर भएको ठाउँ पुगे । तर, घर भेटिएन ।

तीनतले घर ठडिएको ठाउँमा अहिले त्रिशूलीको बाढीले थुपारेको गेग्रान छ । छ त एउटा यस्तो थुप्रो, जसले उनको घरसँगै वर्षौँको पसिना पनि पुरिदिएको छ ।

गेग्रानमाथि उभिएर वीरबहादुरले बिस्तारै भने, ‘अहिले यहाँ आउँदा यही ठाउँमा मेरो घर थियो भन्ने मात्रै सम्झना आउँछ ।’

केही दिनअघिसम्म त्यही ठाउँमा उनको संसार थियो । तीनतले घर थियो । भान्सामा अन्न थियो । आँगनमा भैँसी थियो । परिवारको भविष्य थियो । भैंसी छ । अरु केही छैन ।

‘मान्छे र भैँसी जोगायौँ,’ उनले नेपालवानएचडीसँग भने, ‘तर, एक गेडो अन्न जोगिएन ।’

बाढीले घर बगाएको आठ दिन बितिसकेको छ । बाढीको पानी घटेको छ । तर, वीरबहादुरको जीवन अझै त्रासदीमा छ । अहिले उनी घरभन्दा केही माथि डेरा लिएर बसिरहेका छन् । बाँच्नका लागि डेरा त पाए । तर, अब डेराको भाडा कसरी तिर्ने ? किनेर खाने पैसा छैन । घर छैन । अन्न छैन । आम्दानीको आधार छैन । भोलि कहाँ बस्ने भन्ने ठेगान छैन ।

‘सरकारले राहत बाँडिरहेको भन्ने सुनेको छु,’ उनले भने, ‘तर, यहाँ हामीले सरकारबाट राहत पाएनौँ । ऐँचोपैँचो गरेर खाँदै बसिरहेका छौँ ।’

उनले ‘राहत बाँडिरहेको सुनेको छु’ भन्दा उनको स्वरमा अचम्मको विडम्बना थियो । सरकारले राहत बाँडिरहेको समाचार उनीसम्म पुगेको छ । तर, राहत पुगेको छैन ।

गृहमन्त्री गुरुङ बट्टारमा, बाढीपीडित भोकै 

सिम्बुटारकै दिनेश तामाङको घर पनि बाढीले बगायो । अहिले उनी तीन सदस्यीय परिवारसहित डेरामा छन् । लगाएको कपडाबाहेक केही बाँकी छैन ।

‘हाम्रो केही रहेन,’ उनले भने, ‘घरको नामोनिशाना छैन ।’

अहिले दिनेशको परिवारसँग घर छैन । अन्न छैन । भविष्यको योजना छैन । छ त, दिन काट्ने चिन्ता ।उनी सुनाउँछन्, ‘यहाँ राहत लिएर सरकार आएको छैन । अलिक पर बट्टारमा गृहमन्त्री सुधन गुरुङ आउनुभएको सुनेको छु । उहाँ त्यहाँ आए पनि राहत यहाँ आएन ।’

बाढीपछि एउटा चर्चसम्बन्धी संस्था र परिवर्तन मिडिया नामको संस्थाले केही थान चाउचाउ र पानी ल्याएको उनी सम्झन्छन् । त्यो सकियो ।

तर, सरकार पुगेन राहत लिए । ‘भन्न त गृहमन्त्रीले मिडियामा राहत दिएको छु भनेर बोलेको सुनेँ,’ दिनेशले भने, ‘तर, हामीले पाएनौँ । अब के खाउँ, कसरी बाँचौँ भन्ने चिन्ता छ ।’

सरकारले राहत वितरण गरिरहेको तस्बिर उनले देखेका छन् । तर, उनको हात रित्तै छ ।

यता, देवीघाटकी रोशनी श्रेष्ठलाई पनि उस्तै भएको छ । त्यसैले उनी चिनेजानेकाको घरमा पुगेर खानेकुरा माग्छिन् । ‘हाम्रो खानेकुरा केही पनि छैन,’ उनले भनिन्, ‘चिनेजानेकाकोमा गएर मागेर खाँदैछौँ । सरकारले राहत दिएन ।’

कहिलेसम्म अरूको घरमा गएर माग्ने ? आक्रोशित हुँदै रोशनीले प्रश्न गरिन् ।

उनकी आमा भने १० भदौमा संयोगले बाढीबाट जोगिइन् । बाढी आउनुअघि नै त्रिशूली बजारतर्फ गएकी उनी त्यसपछि गल्छी हुँदै काठमाडौं पुगेकी छन् ।

बाढीले घर र गाउँ सखाप पारेपछि उनी अझै फर्किन सकेकी छैनन् ।

उनले पनि सिम्बुटारका वीरबहादुर र दिनेशलेजस्तै राहत पाएका छैनन् । ‘स्थानीय सरकार र विभिन्न संघसंस्थालाई राहत नदिनू, हामी नै दिन्छौँ भनेको रहेछ,’ उनले भनिन्, ‘तर, आएन अहिलेसम्म ।’

उसो भए राहत कहाँ गयो ?

रसुवा र नुवाकोटको बाढीपछि सरकारले राहत संकलन र वितरणलाई व्यवस्थित बनाउन एकद्वार प्रणाली लागू गरेको जनाएको छ । अर्थ मन्त्रालयले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत राहत संकलन र वितरणको व्यवस्थापन गर्ने घोषणा गरेको थियो ।

सरकारले राहत वितरण भइरहेको जनाएको छ । गृहमन्त्री सुधन गुरुङ बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा बसेर राहत वितरणको काम भइरहेको बताइरहेका छन् । राहत वितरणका तस्बिरहरू सार्वजनिक भएका छन् ।

सरकारी विवरणमा हजारौँ प्रभावितलाई राहत र आश्रय दिइएको उल्लेख छ । तर, सिम्बुटारका वीरबहादुरको हात रित्तै छ । दिनेशको भान्सा रित्तै छ । रोशनी अरूको घरमा खाना मागिरहेकी छन् ।

बागमती प्रदेशसभा सदस्य तथा कांग्रेस नुवाकोट सभापति रमेश महत राहत सामग्रीको अभाव नभएको बताउँछन् । उनका अनुसार राहत सामग्री बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा जम्मा गरिएको छ ।

त्यहाँबाट विभिन्न ‘हामी नेपाली’ संस्थामार्फत वितरण गर्ने व्यवस्था गरिएको छ । तर, रोशनीको थालसम्म पुगेन । विपदमा राहतले गोदाम होइन, पीडितको पेट भरिनुपर्छ ।

तर, त्रिशूली किनारका धेरै पीडित अहिले पनि यही पीडा भोगिरहेका छन् ।

सरकारहरूबीच आरोप

राहत वितरणलाई लिएर केन्द्र, प्रदेश र स्थानीय सरकारबीच पनि असमझदारी देखिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले एकद्वार प्रणालीको नाममा प्रदेश र स्थानीय सरकारसँग पर्याप्त समन्वय नगरिएको गुनासो गरेका छन् । तीन तहका सरकारबीच सहकार्य हुनुपर्ने उनको भनाइ छ ।

उता, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले स्थानीय र प्रदेश सरकार बाढीलगत्तै ‘एक्टिभ’ नभएको भनेर दोष दिइरहेका छन् । उनले केन्द्र सरकारलाई दुवै तहको सरकारले असहयोग गरेको भनेर पानीमाथिको ओभानो बन्ने प्रयास गरेका छन् ।

राजनीतिक दलहरूले एकअर्कालाई असहयोगको आरोप लगाइरहेका छन् । तर, सिम्बुटारका पीडितलाई कसले कसलाई दोष दियो भन्ने कुरासँग मतलब छैन । उनीहरूलाई राहत चाहिएको छ । बस्ने ठाउँ चाहिएको छ । बाँच्ने आधार चाहिएको छ ।

किएभमा रुसी ड्रोन र मिसाइल आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

एजेन्सी। रूसले युक्रेनको राजधानी किएभ तथा आसपासका क्षेत्रमा गरेको ड्रोन र ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

युक्रेनी अधिकारीका अनुसार मंगलबार गरिएको आक्रमणका क्रममा किएभमा करिब एक दर्जन शक्तिशाली विस्फोट भएका थिए। आक्रमणबाट राजधानीसहित आसपासका क्षेत्रमा आवासीय भवन, रेल पूर्वाधार तथा अन्य संरचनामा ठूलो क्षति पुगेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा एक भारतीय नागरिकसमेत मारिएको बताएका छन्। उनले रुसी हवाई आक्रमणबाट नागरिकको ज्यान जाने क्रम बढेको भन्दै सहयोगी राष्ट्रसँग थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेका छन्।

किएभमा मात्रै आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। मृतकमध्ये अधिकांश रेल सेवामा कार्यरत कर्मचारी रहेको जनाइएको छ। रेल डिपोमा ब्यालिस्टिक मिसाइल प्रहार भएपछि ठूलो क्षति भएको थियो।

युक्रेनी रेलवेजका प्रमुख कार्यकारी ओलेक्सान्डर पेर्टसोव्स्कीका अनुसार आक्रमणमा कम्पनीका छ जना कर्मचारीको मृत्यु भएको छ। उनका अनुसार कर्मचारीको कार्यस्थल पूर्ण रूपमा ध्वस्त भएको छ भने विभिन्न क्षेत्रमा आगलागीसमेत भएको थियो।

किएभबाहिरको बोरिस्पिल क्षेत्रमा आवासीय भवनमा समेत क्षति पुगेको छ। क्षतिग्रस्त भवनबाट करिब ५० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको जेलेन्स्कीले बताएका छन्। किएभ क्षेत्रका अन्य स्थानमा पनि चार जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

जापोरिझियामा भएको आक्रमणमा चार जना घाइते भएका छन् भने दक्षिणी ओडेसा क्षेत्रमा समेत रुसी आक्रमण भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

रूसको रक्षा मन्त्रालयले भने लामो दूरीका हतियार र ड्रोन प्रयोग गरी युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गरिएको पुष्टि गरेको छ। रुसी पक्षले किएभ आसपासका सैन्य–औद्योगिक प्रतिष्ठान तथा इन्धन र ऊर्जा पूर्वाधारलाई लक्षित गरिएको दाबी गरेको छ। ओडेसाका बन्दरगाह पूर्वाधारमा समेत प्रहार गरिएको रूसको भनाइ छ।

युक्रेनी वायु सेनाले राजधानी तथा आसपासमा ब्यालिस्टिक मिसाइलसहित अन्य हवाई आक्रमणको जोखिम कायमै रहेको भन्दै सर्वसाधारणलाई सुरक्षित आश्रयस्थलमा बस्न आग्रह गरेको छ।

यसैबीच, युक्रेनले नेटो सदस्य राष्ट्र रोमानियासँग जोडिएको सीमावर्ती क्षेत्रमा समेत रुसी ड्रोन आक्रमण भएको जनाएको छ। रोमानियाले यस वर्ष आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका रुसी ड्रोनमध्ये दुईवटालाई खसालेको घोषणा गरिसकेको छ।

रूस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया अघि बढिरहेको भए पनि दुवै पक्षबीच लामो दूरीका हवाई आक्रमण भने तीव्र बनेका छन्। पछिल्ला साताहरूमा ऊर्जा, तेल, बन्दरगाह, व्यवसाय तथा अन्य पूर्वाधारलाई लक्षित गरी दुवै पक्षबाट आक्रमण भइरहेका छन्।

 

कान्समा पुरस्कृत ‘तिनीहरू’को बाढीपीडितका लागि च्यारिटी शो

काठमाडौं । कान्स चलचित्र महोत्सवमा पुरस्कृत नेपाली फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ले भोटेकोसी बाढी प्रभावितको सहयोगार्थ विशेष च्यारिटी शो गर्ने भएको छ।

निर्माण पक्षका अनुसार च्यारिटी शोबाट उठेको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। फिल्मका अन्तर्राष्ट्रिय सह–निर्माताहरूले पनि बाढीपीडितका लागि थप सहयोग जुटाउने भएका छन्।

अविनाशविक्रम शाह निर्देशित ‘तिनीहरू’ कान्स चलचित्र महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा पुरस्कृत भएको नेपाली फिल्म हो।

जंगली हात्तीको आतंकबाट प्रभावित अल्पसंख्यक समुदायको कथा प्रस्तुत गरिएको फिल्ममा गौरी मल्ल, माओत्से गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।

भुटान जाने नेपाली बिच भलिबल टोलीको बिदाइ

काठमाडौं । भुटानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) बिच भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सभाहलमा नेपाल भलिबल संघले आयोजना गरेको कार्यक्रममा राखेपका सदस्यसचिव रामचरित्र मेहताले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।

बिदाइ कार्यक्रममा सदस्यसचिव मेहताले अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाली खेलाडीको क्षमता अभिवृद्धि गर्दै भलिबललाई थप उचाइमा पुर्‍याउने बताए। उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न खेलाडीलाई शुभकामना दिए।

प्रतियोगिता सेप्टेम्बर ४ देखि ६ सम्म भुटानमा सञ्चालन हुनेछ। नेपालले प्रतियोगिताको पुरुष र महिला दुवै विधामा दुई–दुई जोडी खेलाडी उतार्नेछ।

पुरुषतर्फ महेन्द्र श्रेष्ठ–राजकुमार निरौला तथा झमनसिंह दर्जी–शरण कार्कीको जोडीले प्रतिस्पर्धा गर्नेछ। महिलातर्फ कमला पुन–कोपिला राना तथा सुनिता राई–भावना डाँगीको जोडी मैदानमा उत्रनेछ।

प्रतियोगितामा नेपालसँगै भुटान, माल्दिभ्स, ताजाकिस्तान र उज्बेकिस्तानको सहभागिता रहनेछ।

कृष्णभीरको बाटो खोल्नेमा सरकार अझै अलमलमै

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएको आज तीन दिन हुदासम्म  पनि अवरुद्ध सडक खुलाउने विषयमा सरकारले अझै ठोस निर्णयमा लिन  सकेको अवस्था  छैन।

मंगलबार सडक सञ्चालनमा ल्याउने उपायबारे छलफल भएता पनि तत्काल निर्णय लिन  सकेको अवस्था भने छैन । जियोटेक्निकल टोलीको अध्ययन र सुझावपछि मात्रै नयाँ ट्र्याक खोल्ने वा अन्य विकल्प अपनाउनेबारे टुंगो लाग्नेछ।

कृष्णभीरमा सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग हुँदै पश्चिम नेपालतर्फ जाने यातायात प्रभावित भएको छ। यात्रु तथा सवारीसाधनलाई हाल हेटौँडा जोड्ने वैकल्पिक मार्गबाट आवतजावतको व्यवस्था मिलाइएको छ।

भोटेकोशीको विपत्तिमा जापानको साथ, बालेनलाई ताकाइचीको फोन

काठमाडौं। जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग टेलीफोन संवाद गर्दै नेपालमा भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् ।

ताकाइचीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहसँग अपराह्नमा कुराकानी भएको जानकारी दिएकी हुन् । कुराकानीका क्रममा उनले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवार र प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गरिन् ।

नेपाल र जापान दुवै प्राकृतिक विपद्को जोखिममा रहेका मुलुक भएको स्मरण गर्दै ताकाइचीले नेपालले अहिले भोगिरहेको संकटप्रति आफू दुःखी भएको बताइन् । जापानमा कुमामोतो भूकम्प र भारी वर्षाका कारण भएका विपद्का घटनाको प्रसंगसमेत उनले प्रधानमन्त्री शाहसँग राखेकी छन् ।

बाढीपछि सम्पर्कविहीन रहेका पाँच जापानी नागरिकको खोजी तथा उद्धारमा सहयोग गर्न ताकाइचीले प्रधानमन्त्री शाहसँग पुनः आग्रह गरेकी छन् ।

जवाफमा प्रधानमन्त्री शाहले उनीहरूको खोजी तथा उद्धारका लागि नेपाल सरकारले उपलब्ध स्रोतसाधन प्रयोग गरेर सक्दो प्रयास गरिरहेको जानकारी गराएको ताकाइचीले उल्लेख गरेकी छन् ।

जापान सरकारले पनि आफ्ना नागरिकको अवस्था पत्ता लगाउन उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको उनले बताएकी छन् ।

बाढीबाट प्रभावित नेपालीका लागि जापानले पाल, कम्बललगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराउने भएको छ ।

ताकाइचीका अनुसार ती सामग्री जापानभित्रका विपद्का लागि राखिएको भण्डारबाट नभई विदेशमा आपत्कालीन सहायता उपलब्ध गराउन छुट्टै व्यवस्थापन गरिएको भण्डारबाट पठाइनेछ ।

जापानले अन्तर्राष्ट्रिय संस्थामार्फत थप सहयोग उपलब्ध गराउने तथा आवश्यक परे अन्तर्राष्ट्रिय आपत्कालीन सहायता टोली नेपाल पठाउने तयारीसमेत गरिरहेको उनले जानकारी दिएकी छन् ।

ताकाइचीले नेपाललाई एसियाली मित्रका रूपमा जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री ताकाइचीले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठकै दिन प्रधानमन्त्री शाहसँग कुराकानी भएको उल्लेख गरेकी छन् ।

उनले आगामी दिनमा नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।

पोखरामा ७६ वटा शव जमिनमुनि व्यवस्थापन [तस्वीरहरू]

पोखरा। बाढी प्रभावित क्षेत्रसहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका ७६ वटा शव मंगलबार जमिनमुनि व्यवस्थापन गरिएको छ ।

धादिङ, तनहुँ, गोरखा र पूर्वी नवलपरासीबाट ल्याइएका १ सय २ शवमध्ये ७६ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वन क्षेत्रमा व्यवस्थापन गरिएको कास्की प्रहरीले जनाएको छ । शवलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गरिएको हो ।

कुल १ सय २ शवमध्ये १९ वटा पहिचान खुलेपछि आफन्तलाई जिम्मा लगाइएको छ । बाँकीमध्ये ७ वटा शवको पोस्टमार्टम तथा डीएनए नमुना संकलनको प्रक्रिया अस्पतालमा जारी रहेकाले मंगलबार ती शव व्यवस्थापन नगरिएको प्रहरीले जनाएको छ ।

पहिचान नभएका ८३ शव व्यवस्थापन गर्ने तयारी भए पनि पहिचान प्रक्रिया, पोस्टमार्टम र डीएनए संकलनको काम बाँकी रहेकाले तत्काल ७६ शव मात्र व्यवस्थापन गरिएको हो ।

शव व्यवस्थापनअघि आवश्यक नमुना तथा विवरण सुरक्षित राखिएको जनाइएको छ ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

एमाले सांसदले आधा महिनाको तलब बाढीपीडित राहत कोषमा दिने

काठमाडौं । नेकपा एमाले संसदीय दलका सांसदहरूले आफ्नो आधा महिनाको तलब दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

आज बसेको एमाले संसदीय दलको बैठकले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले सांसदहरूको आधा महिनाको तलब राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।

एमाले संसदीय दलका सदस्य सोमनाथ पोर्तेलले बाढीपीडितको राहत तथा उद्धार कार्यमा सहयोग पुग्ने गरी उक्त निर्णय गरिएको जानकारी दिए।

उत्तरभन्दा बढी तातो दक्षिण मंगल

काठमाडौं। मंगल ग्रहको भित्री संरचनाबारे गरिएको नयाँ अनुसन्धानले रातो ग्रह वास्तवमै दुई एकदमै फरक भागमा विभाजित रहेको तथ्यलाई थप बल दिएको छ।

मंगल ग्रहको दक्षिणी गोलार्धमुनि गहिराइमा रहेको क्षेत्रको तापक्रम उत्तरी गोलार्धमुनिको तुलनामा ७५० डिग्री फरेनहाइट (४०० डिग्री सेल्सियस) सम्म बढी रहेको तथ्यले वैज्ञानिकहरुलाई चकित पारेको छ। 

यसले मंगल ग्रहको उत्तरी भाग समथर र दक्षिणी भाग खस्रो तथा उच्च भूभागयुक्त हुनुको रहस्यलाई थप बल प्रधान गरेको छ। 

क्यालटेकमा कार्यरत रहेका र हाल युनिभर्सिटी अफ एरिजोनामा रहेका अलेक्जान्डर बर्नका अनुसार वैज्ञानिकहरूले सामान्यतया ग्रहहरूको भित्री भाग गोलाकार रूपमा समान हुन्छ भन्ने मान्यता राख्छन्। तर, यस्तो हुनु अनिवार्य छैन। (बर्न नयाँ अनुसन्धानका प्रमुख लेखक समेत हुन्।)

बर्न र उनको टोलीले नासाका तीन अन्तरिक्षयान मार्स ग्लोबल सर्वेयर, मार्स ओडिसी र मार्स रिकोनाइसन्स अर्बिटरबाट प्राप्त पुराना तथ्यांक पुनः अध्ययन गरेका थिए। उनीहरूले अन्तरिक्षयानको कक्षीय गतिमा देखिएका सूक्ष्म परिवर्तन खोजे, जसले मंगल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा रहेको भिन्नताको संकेत दिन सक्छ।

बर्नले विकास गरेको ‘टाइडल टोमोग्राफी’ नामक प्रविधि प्रयोग गरिएको थियो। यस प्रविधिले मंगल ग्रह सूर्यको वरिपरि आफ्नो अण्डाकार कक्षमा घुम्दा सूर्यको गुरुत्वाकर्षणमा हुने परिवर्तनलाई समेत हिसाबमा लिन्छ। यसबाट उनीहरूले मंगल ग्रहको भित्री संरचना र तापक्रमको एउटा मोडल तयार पारे।

अन्तरिक्षयानले अनुभव गरेको गुरुत्वाकर्षण क्षेत्र समयसँगै जसरी परिवर्तन भएको थियो, त्यो मंगल ग्रहको भित्री भाग पूर्ण रूपमा गोलाकार र समान भएको अवस्थामा अपेक्षा गरिएको भन्दा तुलनात्मक रुपमा देखियो।

यो भिन्नताको व्याख्या गर्न मंगल ग्रहको दक्षिणी गोलार्धमुनिको म्यान्टल उत्तरी भागको तुलनामा ३९० देखि ७५० डिग्री फरेनहाइट (२०० देखि ४०० डिग्री सेल्सियस) सम्म तातो हुनुपर्ने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ। त्यहाँको तापक्रम यति उच्च हुन सक्ने देखिएको छ कि म्यान्टलको केही भाग अझै पनि पग्लिएको अवस्थामा हुनसक्ने आँकलन गरिएको छ।

यसको असर मंगल ग्रहमा जीवनका लागि अनुकूल वातावरणको सम्भावना र त्यहाँ ज्वालामुखीय गतिविधि कति लामो समयसम्म सक्रिय रह्यो भन्ने विषयमा समेत सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ। 

मंगल ग्रहको भित्री भाग उत्तर र दक्षिणमा फरक हुनु त्यति आश्चर्यजनक नहुन सक्छ, किनकि यसको सतह पनि असमान रहेको तथ्य पहिल्यैदेखि थाहा छ।

मंगल ग्रहको उत्तरी भागमा तल्ला समथर मैदान छन् भने दक्षिणी भागको भूपर्पटी औसतमा उत्तरी भागभन्दा २५ किलोमिटर बाक्लो छ। दक्षिणी क्षेत्र ठूलो संख्यामा खाल्डाखुल्डी र उच्च भूभागले भरिएको छ। उत्तरी तल्लो मैदान कुनै समय विशाल समुद्रको क्षेत्र भएको हुन सक्ने वैज्ञानिकहरूको आँकलन छ। 

क्यालटेकका अनुसन्धानकर्ता तथा अध्ययनका दोस्रो लेखक अमिरहोसेन बाघेरीका अनुसार मंगल ग्रहको उत्तर-दक्षिण विभाजन बुझ्नु महत्वपूर्ण छ। (बाघेरी एक प्रसिद्ध इरानी भूभौतिकीविद् र ग्रह वैज्ञानिक हुन्।)

उनका अनुसार यसले मंगल ग्रहको जलसम्बन्धी गतिविधिमा प्रभाव पार्ने प्रक्रियाहरू, विशेषगरी पानी जम्मा हुन सक्ने विशाल बेसिनहरूको निर्माण कसरी भयो भन्ने तथ्य उजागर गर्न सक्छ।   

दक्षिणी म्यान्टल बढी तातो हुनु मंगल ग्रहका अन्य केही रहस्यमय तथ्यलाई समेत व्याख्या गर्न सक्ने देखिएको छ।

नासाको इनसाइट ल्यान्डरले सन् २०२२ को डिसेम्बरमा आफ्नो अभियान समाप्त गर्नुअघि मंगल ग्रहमा भूकम्पीय गतिविधि मापन गर्न सेइस्मोमिटर प्रयोग गरेको थियो। त्यसबाट प्राप्त तथ्यांकमा दक्षिणी भागमा भूकम्पीय तरंगहरू तुलनात्मक रूपमा छिटो कमजोर हुने देखिएको थियो। अनुसन्धानकर्ताका अनुसार दक्षिणी क्षेत्र बढी तातो भएकाले यस्तो भएको हुन सक्छ।

त्यस्तै, दक्षिणी भागमा फलामयुक्त खनिजमा भेटिएका चुम्बकीय असामान्यतासमेत नयाँ अनुसन्धानपछि केही हदसम्म बुझ्न सकिने भएको छ।

मंगल ग्रहमा चुम्बकीय क्षेत्र छैन। तर चार अर्ब वर्षभन्दा बढी समयअघि मंगल ग्रहमा यस्तो चुम्बकीय क्षेत्र रहेको मानिन्छ।

तातो दक्षिणी म्यान्टलबाट तातो पदार्थ माथितर्फ उक्लिँदा क्रस्टको तापक्रम ‘क्युरी तापक्रम’भन्दा माथि पुगेको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ।  

बर्नका अनुसार ग्रहको भित्री संरचना बुझ्दा ती ग्रह कसरी बने र समयक्रममा कसरी विकसित भए भन्ने प्रक्रिया बुझ्न मद्दत गर्छ।

तर मंगल ग्रहमा देखिने उत्तर-दक्षिण विभाजनको वास्तविक कारण भने अझै स्पष्ट छैन। सतहमा देखिएको भिन्नता र भित्री भागमा देखिएको तापक्रमीय भिन्नता एउटै कारणले भएको हो वा होइन भन्ने पनि यकिन भइसकेको छैन।

मंगल ग्रहको उत्तर-दक्षिण विभाजनबारे एउटा प्रमुख परिकल्पना चार अर्ब वर्षभन्दा अघिको एउटा विशाल उल्कापिण्डीय ठक्कर हो। वैज्ञानिकहरूका अनुसार उत्तरी तल्लो भूभाग वास्तवमा कुनै समय भएको विशाल ठक्करबाट बनेको बेसिन हुन सक्छ।

यदि विशाल आकाशीय पिण्ड मंगल ग्रहको उत्तरी भागमा ठोक्किएको थियो भने त्यसले ठूलो क्षेत्रको पदार्थ हटाएर भित्री ताप बाहिर निस्कने अवस्था सिर्जना गरेको हुन सक्छ। यसका कारण उत्तरी म्यान्टल दक्षिणी भागको तुलनामा छिटो चिसिएको हुन सक्ने आँकलन छ।

दक्षिणी भागमा रहेको बाक्लो भूपर्पटीले म्यान्टलबाट ताप बाहिर निस्कन रोक्ने ढक्कनको काम गरेको हुन सक्ने अर्को सम्भावना समेत रहेको छ।

यो परिकल्पना भविष्यमा परीक्षण गर्न सकिने वैज्ञानिकहरूले बताएका छन्। बाक्लो र घना क्रस्टमा म्यान्टलबाट माथितर्फ उक्लिएको म्याग्मा रोकिएको भए सतहभन्दा तल पग्लिएको पदार्थका संरचना बनेका हुन सक्छन्। उच्च रिजोलुसनको गुरुत्वाकर्षणसम्बन्धी तथ्यांकबाट यस्ता संरचना पत्ता लगाउन सकिने अपेक्षा गरिएको छ।

बर्नले विकास गरेको ‘टाइडल टोमोग्राफी’ प्रविधि मंगल ग्रहमा मात्र सीमित नरही बुध ग्रहदेखि बृहस्पतिका ठूला चन्द्रमासम्म अन्य आकाशीय पिण्डको अध्ययनमा समेत प्रयोग गर्न सकिनेछ।

बर्नका अनुसार थप गुरुत्वाकर्षणसम्बन्धी तथ्यांक प्राप्त हुँदै गएमा वैज्ञानिकहरूले कुनै ग्रहको भित्री संरचनाका जटिलता अझ स्पष्ट रूपमा पहिचान गर्न सक्नेछन्। 

यस्ता निष्कर्षले भविष्यमा ती ग्रहको अध्ययन र अन्तरिक्ष अभियान डिजाइन गर्न वैज्ञानिकहरूलाई आधार उपलब्ध गराउनेछन्।

[अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार गरिएको ]