`

वाग्मतीमा मन्त्रालय १४ बाट ८ मा सीमित

काठमाडौं। वाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गर्ने निर्णय आजदेखि कार्यान्वयनमा ल्याएको छ।

मन्त्रालय पुनर्संरचनासँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरूको नयाँ कार्यविभाजन सिफारिस गरेपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ले मन्त्रिपरिषद्को कार्यविभाजन स्वीकृत गरेका हुन्।

नयाँ संरचनाअनुसार अब प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला, कानुन तथा सहकारी, आर्थिक मामिला तथा योजना, खानेपानी, ऊर्जा तथा सिँचाइ, भौतिक पूर्वाधार विकास, कृषि, पशुपन्छी, वन तथा वातावरण, स्वास्थ्य तथा सामाजिक विकास तथा उद्योग, पर्यटन, श्रम तथा यातायात गरी आठ मन्त्रालय रहनेछन्।

सरकारमा रहेका १४ मन्त्रीमध्ये ८ जनाले मन्त्रालयको नेतृत्व सम्हाल्नेछन् भने बाँकी ६ जनालाई हालका लागि विनाविभागीय मन्त्रीका रूपमा राखिएको छ। मुख्यमन्त्री कार्यालयका अनुसार सत्ता साझेदारीसँग सम्बन्धित राजनीतिक विषय टुंगिएपछि उनीहरूको जिम्मेवारी पुनः हेरफेर गरिनेछ। नयाँ आर्थिक वर्षसँगै संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणअनुसार कर्मचारी समायोजन गर्नुपर्ने भएकाले यो व्यवस्था अन्तरिम रूपमा गरिएको हो।

प्रदेश मन्त्रिपरिषद्ले गत वैशाख २२ गते मन्त्रालय संख्या घटाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनमा आएपछि प्रदेश सरकारको संरचना औपचारिक रूपमा परिवर्तन भएको हो।

मुख्यमन्त्री बानियाँले मन्त्रालय संख्या घटाउने निर्णय सुशासन, मितव्ययिता र प्रभावकारी सेवा प्रवाह लाई प्राथमिकता दिएर गरिएको बताए। उनका अनुसार यसबाट प्रशासनिक खर्च घट्ने, निर्णय प्रक्रिया छरितो हुने र नागरिकले सहज रूपमा सेवा पाउने वातावरण बन्नेछ।

‘प्रदेश सभामा संविधानअनुसार २२ जनासम्म मन्त्री बनाउन सकिने व्यवस्था भए पनि हामीले सुशासन र मितव्ययितालाई प्राथमिकता दिँदै मन्त्रालय संख्या ८ मा सीमित गरेका हौँ,’ मुख्यमन्त्री बानियाँले भने।

उनले कर्मचारी प्रशासन तथा ओएण्डएम सर्वेक्षणका बाँकी काम केही दिनभित्र सम्पन्न हुने र त्यसपछि सचिव तथा कर्मचारी व्यवस्थापनलाई अन्तिम रूप दिइने जानकारी दिए।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैंसँग राखेका छन्।

नयाँ कार्यविभाजनअनुसार मधुसूदन पौडेल कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री बनेका छन् भने शिवराज अधिकारी लाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी कञ्चनचन्द्र वादे स्वास्थ्य तथा सामाजिक विकास, डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास, प्रभात तामाङ आर्थिक मामिला तथा योजना, कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइ तथा बिन्दु श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको नेतृत्वमा रहेका छन्।

मन्त्रालय संख्या घटाइएपछि किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेल लाई हालका लागि विनाविभागीय मन्त्रीका रूपमा राखिएको छ। उनीहरूले मुख्यमन्त्रीको मातहतमा रही तोकिएका अतिरिक्त जिम्मेवारी सम्हाल्नेछन्।

मन्त्रालय पुनर्संरचनासँगै कर्मचारी तथा सचिवहरूको व्यवस्थापन प्रक्रिया पनि अघि बढाइएको छ।

प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी का अनुसार नयाँ कार्यविभाजन नियमावलीअनुसार मन्त्रालय र मातहतका कार्यालयहरूको जिम्मेवारी स्पष्ट भइसकेको छ भने अब दरबन्दी टुंग्याउने काम भइरहेको छ।

उनका अनुसार मुख्यमन्त्री कार्यालयका प्रशासन हेर्ने सचिवको संयोजकत्वमा गठित समितिले विभिन्न मन्त्रालयबाट प्राप्त ओएण्डएम प्रस्तावहरूको अध्ययन गरी मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। उक्त समितिमा आर्थिक मामिला तथा आन्तरिक मामिला मन्त्रालयका सचिव सदस्य छन्।

प्रमुख सचिव अधिकारीले साउन १० गतेभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिँदै मन्त्रिपरिषद्बाट दरबन्दी स्वीकृत भएपछि कर्मचारीहरूको औपचारिक पदस्थापन गरिने बताए।

हाल मन्त्रालय गाभिएपछि बाँकी रहेका सचिव तथा कर्मचारीहरूले सम्बन्धित मन्त्रालयका शाखाका रूपमा साबिककै स्थानबाट काम गरिरहेका छन्।

सरकारको नयाँ व्यवस्था : अब नयाँ करार कर्मचारी भर्ना नहुने

काठमाडौं। सरकारले अबदेखि नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै करार कर्मचारी व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था लागू गरेको हो।

मन्त्रालयले जारी गरेको परिपत्रअनुसार अब नयाँ स्थापना भएका सरकारी निकाय वा स्वीकृत दरबन्दी रिक्त रहेका कार्यालयमा समेत नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न पाइने छैन। त्यस्ता अवस्थामा आवश्यक जनशक्ति मन्त्रालयको ‘पुल’मा रहेका करार कर्मचारीबाटै व्यवस्थापन गरिने व्यवस्था गरिएको छ।

यसका लागि सम्बन्धित कार्यालय वा निकायले सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक कर्मचारी माग गर्नुपर्नेछ। मन्त्रालयले ‘पुल’मा रहेका उपयुक्त कर्मचारी उपलब्ध गराएपछि सम्बन्धित निकायले करार सम्झौता गरी काममा खटाउन सक्नेछ।

यस्तै, संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण स्वीकृत भइसकेपछि पनि आवश्यक जनशक्ति सोही ‘पुल’बाट व्यवस्थापन गर्न सकिने व्यवस्था परिपत्रमा उल्लेख छ। यसबाट करार कर्मचारी व्यवस्थापनलाई एकीकृत र व्यवस्थित बनाउने सरकारको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।

केही दिनअघि करार सेवामा कार्यरत कर्मचारीहरूले आफूहरूलाई सेवाबाट हटाउने तयारी भएको भन्दै आन्दोलन थालेका थिए। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले करार कर्मचारी हटाउने निर्णय नभएको स्पष्ट पारेको थियो। सरकारी आश्वासनपछि आन्दोलन स्थगित भएको थियो।

नयाँ व्यवस्थासँगै आगामी दिनमा करार सेवामा नयाँ भर्ना बन्द हुने र आवश्यक जनशक्ति मन्त्रालयको ‘पुल’ प्रणालीमार्फत मात्रै परिचालन गरिने भएको छ।

‘मास्टर्नी’ फिल्मको गीतप्रति शिक्षक महासङ्घको आपत्ति, तत्काल हटाउन माग

काठमाडौं। नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको गीतप्रति गम्भीर आपत्ति जनाएको छ।

महासङ्घले उक्त गीतमा महिला शिक्षकलाई लक्षित गरी प्रयोग गरिएका शब्द र भावले शिक्षण पेसाको गरिमामाथि आघात पुगेको भन्दै तत्काल गीत हटाउन माग गरेको हो।

महासङ्घको राष्ट्रिय समिति, सानोठिमी भक्तपुरले बिहीबार जारी गरेको विज्ञप्तिमा गीतमा प्रयोग गरिएको भाषा र प्रस्तुतिले महिला शिक्षकमाथि अमर्यादित टिप्पणी गरिएको तथा यसले समग्र शिक्षक समुदायको सम्मानमा ठेस पुर्‍याएको उल्लेख गरिएको छ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रचार सामग्रीका रूपमा सार्वजनिक गरिएको उक्त गीत तुरुन्त हटाई चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित निर्माता तथा सरोकारवालासँग आग्रह गरिएको छ।

महासङ्घले विवादित गीतलाई यथावत् राखिए त्यसबाट उत्पन्न हुने कुनै पनि असहज अवस्था र परिणामको जिम्मेवारी चलचित्र निर्माण पक्ष तथा सम्बन्धित कलाकारहरूले नै वहन गर्नुपर्ने चेतावनीसमेत दिएको छ।

गीत सार्वजनिक भएपछि देशभरका शिक्षक समुदायबाट असन्तुष्टि व्यक्त हुन थालेपछि महासङ्घले आधिकारिक धारणा सार्वजनिक गरेको जनाएको छ।

महासङ्घले पत्र संख्या २९–२०८३ मार्फत साउन १ गते विज्ञप्ति जारी गर्दै शिक्षण पेसाको सम्मान कायम रहने गरी आवश्यक निर्णय लिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

तीनबुँदे माग राख्दै डा. गोविन्द केसीले दिए फेरि अनसन बस्ने चेतावनी

काठमाडौं। वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि आफ्ना तीनबुँदे माग साउन ५ गतेभित्र सम्बोधन नगरे पुनः आमरण अनसनसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्।

शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत डा. केसीले सरकारले चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष नियुक्त गरेपछि असारमा घोषणा गरिएको सत्याग्रह स्थगित गरेको स्मरण गराउँदै, स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रमा देखिएका संरचनात्मक समस्या अझै समाधान नभएकाले आन्दोलनको विकल्प नरहेको बताएका हुन्।

उनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा नाफामुखी व्यवसाय नभई विशुद्ध सार्वजनिक सेवा र गैरनाफामूलक क्षेत्र हुनुपर्नेमा जोड दिएका छन्। विकसित मुलुकहरूमा समेत स्वास्थ्य र चिकित्सा शिक्षा सरकारी वा गैरनाफामूलक संस्थामार्फत सञ्चालन हुने उदाहरण दिँदै नेपालमा भने निजी मेडिकल माफिया र स्वार्थ समूहको प्रभाव नीतिनिर्माणदेखि नियमनकारी निकायसम्म फैलिएको आरोप लगाएका छन्।

डा. केसीका अनुसार सरकारले न्यूनतम मापदण्डसमेत पूरा नगरेका निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजहरूलाई संरक्षण गर्ने नीति लिएको छ। साथै, चिकित्सा शिक्षासम्बन्धी नियमनकारी निकाय र विश्वविद्यालयहरूमा निजी शिक्षण संस्थासँग प्रत्यक्ष स्वार्थ जोडिएका व्यक्तिलाई नियुक्त गरिँदा सम्पूर्ण स्वास्थ्य प्रणाली नै प्रभावित हुने खतरा बढेको उनको भनाइ छ।

उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने स्पष्ट व्यवस्था गरे पनि त्यसको कार्यान्वयनमा सरकारले कुनै ठोस पहल नगरेको आरोप लगाए।

डा. केसीका तीन मुख्य माग

  • स्वार्थको द्वन्द्व हुने गरी मेडिकल विश्वविद्यालय तथा चिकित्सा शिक्षाका नियमनकारी निकायमा गरिएका सबै नियुक्ति तत्काल खारेज गर्नुपर्ने।

  • चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा आवश्यक मापदण्ड र पूर्वाधारबिना निजी मेडिकल कलेजमा सिट थप गर्ने प्रस्ताव तत्काल रद्द गर्नुपर्ने।

  • राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने कानुनी व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने।

डा. केसीले साउन ५ गतेभित्र यी माग सम्बोधन नभए विगतमा स्थगित गरिएको सत्याग्रहसहितका सशक्त आन्दोलनका कार्यक्रम पुनः सुरु गरिने स्पष्ट पारेका छन्। आन्दोलनबाट उत्पन्न हुने कुनै पनि परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारकै हुने चेतावनी उनले दिएका छन्।

चिकित्सा शिक्षा सुधारका लागि विगत एक दशकभन्दा बढी समयदेखि पटक–पटक आमरण अनसन गर्दै आएका डा. केसीले यसअघि पनि सरकारसँग भएका सम्झौता कार्यान्वयनमा ढिलाइ भएको भन्दै बारम्बार आन्दोलन गर्दै आएका छन्। यसपटक पनि उनले चिकित्सा शिक्षालाई नाफामुखी व्यापार बन्न नदिने र नियमनकारी निकायलाई स्वार्थमुक्त बनाउनुपर्ने मागलाई प्रमुख रूपमा अघि सारेका छन्।

साउने संक्रान्ति : ‘लुतो लैजा…है’

काठमाडौं। श्रावण महिनाको आगमनसँगै गाउँदेखि सहरसम्म धार्मिक र सांस्कृतिक गतिविधि बढ्न थाल्छन्। महिलाहरू हरिया चुरा र मेहेन्दीमा सजिन्छन्, शिवालयहरूमा भक्तजनको भीड लाग्न सुरु हुन्छ र साउन सोमबारको व्रतको तयारी हुन्छ। तर साउने संक्रान्तिको अर्को महत्वपूर्ण पक्ष भने आज पनि धेरैका लागि चासोको विषय बनेको छ – ‘लुतो फाल्ने’ परम्परा।

कतिपयका लागि यो एउटा पुरानो चलन मात्र हो, कतिपयका लागि धार्मिक विश्वास हो । तर लोकसंस्कृतिका अध्येताहरूका दृष्टिमा यो नेपाली समाजले स्वास्थ्य, सरसफाइ, प्रकृति र सामुदायिक एकतालाई जोड्ने मौलिक सांस्कृतिक अभ्यास हो। समयसँगै यसको स्वरूप फेरिए परम्परा अझै हराएको छैन।

नेपाल कृषि प्रधान देश हो। असार महिना किसानका लागि सबैभन्दा व्यस्त समय मानिन्छ। धान रोपाइँका क्रममा दिनभरि हिलो, पानी र वर्षासँग संघर्ष गर्नुपर्छ। यस्तो अवस्थामा छालामा चिलाउने, फंगल संक्रमण, एलर्जी तथा अन्य चर्मरोग देखिनु अस्वाभाविक होइन।

यही यथार्थबाट प्रभावित भएर वर्षौंदेखि साउने संक्रान्तिमा ‘लुतो फाल्ने’ परम्परा विकास भएको विश्वास गरिन्छ। यसको मूल उद्देश्य शरीरमा लागेको रोग मात्र होइन, वर्षभरि जम्मा भएका दुःख, पीडा र अशुभ प्रभावलाई पनि प्रतीकात्मक रूपमा विदाइ गर्नु हो।

ग्रामीण समाजमा ‘लुतो’ शब्दले मुख्यतः चिलाउने, दाद आउने वा संक्रमण हुने छालासम्बन्धी रोगलाई जनाउँछ। वर्षायाममा यस्ता समस्या बढ्ने भएकाले यसलाई मौसमी रोगका रूपमा बुझिन्छ।

तर लोकविश्वासमा लुतोको अर्थ यतिमै सीमित छैन। यसलाई रोग, दुःख, अनिकाल, दरिद्रता, महामारी र नकारात्मक शक्तिको प्रतीकका रूपमा समेत व्याख्या गरिन्छ। त्यसैले लुतो फाल्नु भनेको शरीरसँगै जीवनमा रहेका अशुभ प्रभावलाई पनि बाहिर निकाल्ने सांस्कृतिक प्रतीक बनेको हो।

लुतो फाल्ने चलनको अर्को रोचक पक्ष यसमा प्रयोग हुने वनस्पति हुन्। तितेपाती, सिस्नु, उन्यू, कुरिलो, कुकुरडाइनो, लज्जावती, कागभलायो, पानीसरो लगायतका स्थानीय बिरुवालाई औषधीय गुणयुक्त मान्ने परम्परा नेपाली समाजमा धेरै पुरानो छ।

साउने संक्रान्तिको साँझ यिनै वनस्पति संकलन गरेर अगुल्टोसँगै बालिन्छ। त्यसबाट निस्किएको धुवाँ घरको चारैतिर घुमाउने र अन्त्यमा बाहिर फाल्ने चलन छ।

वैज्ञानिक रूपमा यी सबै वनस्पतिले रोग निको पार्छन् भन्ने ठोस प्रमाण सबैमा उपलब्ध नभए पनि वर्षायाममा सरसफाइ, वातावरण सफा राख्ने र संक्रमणबाट बच्नुपर्ने सन्देश भने यो परम्पराले स्पष्ट रूपमा दिन्छ।

‘लुतो लैजा…’ भन्दै किन कराइन्छ ?

लुतो फाल्ने परम्पराको सबैभन्दा रोचक दृश्य भनेको सामूहिक रूपमा गरिने उद्घोष हो। धेरै गाउँमा आज पनि अगुल्टो लिएर घरको चारैतिर घुम्दै मानिसहरू ठूलो स्वरमा भन्छन्,- 

‘लुतो लैजा, रोगव्याधि लैजा, अनिकाल लैजा, शोक लैजा, सुख-शान्ति ल्याइदेऊ।’

कतिपय स्थानमा यससँगै नाङ्लो ठटाउने, घण्टी बजाउने वा शंख फुक्ने चलन पनि छ। लोकविश्वासअनुसार ठूलो आवाजले नकारात्मक शक्ति घरबाट टाढा भाग्ने विश्वास गरिन्छ।

नेपालका केही भूभागमा यो परम्परा ‘कण्डारक’ नामक पौराणिक पात्रसँग पनि जोडिन्छ। लोककथाअनुसार कण्डारक छालासम्बन्धी रोग फैलाउने शक्तिको प्रतीक हो। साउने संक्रान्तिमा उसको स्मरण वा पूजा गर्दा चर्मरोगबाट जोगिन सकिने विश्वास रहिआएको छ।

यद्यपि यसलाई पुष्टि गर्ने ऐतिहासिक प्रमाण सीमित छन्। त्यसैले यसलाई धार्मिक आस्था र लोकविश्वासको एउटा अंशका रूपमा बढी बुझिन्छ।

लुतो फाल्ने परम्पराले नेपाली समाजको प्रकृतिप्रतिको दृष्टिकोण पनि देखाउँछ। उपचारका लागि वनस्पतिको प्रयोग, वातावरण शुद्ध राख्ने प्रयास र प्राकृतिक स्रोतप्रतिको सम्मान यस परम्परामा स्पष्ट देखिन्छ।

पूर्वीय जीवनदर्शनले प्रकृतिलाई जीवनको आधार मानेको छ। लुतो फाल्ने चलन त्यसैको सांस्कृतिक अभिव्यक्ति पनि हो।

साउने संक्रान्ति धार्मिक दृष्टिले पनि महत्वपूर्ण दिन हो। यसै दिन सूर्य कर्कट राशिमा प्रवेश गर्ने भएकाले दक्षिणायन सुरु भएको मानिन्छ। साउन महिनासँगै भगवान् शिवको पूजा, साउन सोमबारको व्रत, हरियो चुरा, मेहेन्दी र विभिन्न धार्मिक अनुष्ठान प्रारम्भ हुन्छन्।

विभिन्न समुदायमा घिउ, चाकु, तरुल, मास, मकै, सागपात तथा मौसमी परिकार खाने चलन पनि यही दिनसँग जोडिएको छ। यसले साउने संक्रान्तिलाई धार्मिक, सांस्कृतिक र खाद्य परम्पराको साझा उत्सव बनाएको छ।

पहिले गाउँका प्रायः सबै घरमा सामूहिक रूपमा लुतो फाल्ने चलन थियो। अहिले शहरीकरण, बसाइँसराइ र आधुनिक जीवनशैलीका कारण धेरै ठाउँमा यो अभ्यास घट्दै गएको देखिन्छ। नयाँ पुस्ताका धेरैलाई यसको विधि त थाहा छ, तर यसको सांस्कृतिक अर्थबारे जानकारी कम हुँदै गएको छ।

यद्यपि केही समुदाय र स्थानीय तहले मौलिक संस्कृति संरक्षणका कार्यक्रममार्फत यो परम्परालाई निरन्तरता दिने प्रयास गरिरहेका छन्।

लुतो फाल्ने परम्पराको सार कुनै चमत्कारिक उपचारमा होइन, बरु स्वस्थ जीवनशैली, सरसफाइ, प्रकृतिप्रतिको सम्मान, पारिवारिक एकता र सामुदायिक सहभागितामा निहित छ।

यद्यपि यसले मानिसलाई पुराना नकारात्मक अनुभव बिर्सेर नयाँ सुरुआत गर्ने सांस्कृतिक सन्देश समेत दिन्छ।

युक्रेनमा जेलेन्स्की विरुद्द प्रदर्शन

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाउने निर्णय गरेपछि त्यसको चौतर्फी विरोध सुरु भएको छ। राष्ट्रपति जेलेन्स्कीको उक्त निर्णयप्रति नागरिक समाजका प्रतिनिधि, सांसद तथा सर्वसाधारणले असन्तुष्टि जनाएका छन्।

बिहीबार बिहान राजधानी किएभसहित विभिन्न सहरमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। विशेषगरी युवाहरूको उल्लेख्य सहभागिता रहेको प्रदर्शनमा सरकारको निर्णय फिर्ता लिन माग गरिएको थियो।

प्रदर्शनकारीहरूले ‘फेडोरोभबाट टाढै रहो’ र ‘जितमा बाधा पुर्‍याउन बन्द गर!’ लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए। उनीहरूले ‘लाज मान!’ भन्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।

राष्ट्रपति जेलेन्स्कीले सार्वजनिक रूपमा खमाराको अनुभव र नेतृत्व क्षमताको प्रशंसा गर्दै उनी आधुनिक युद्धको बदलिँदो स्वरूपअनुसार काम गर्न सक्षम व्यक्ति रहेको बताएका छन्। विशेषगरी प्राविधिक तथा उच्च प्रविधिमा आधारित युद्ध अभियान सञ्चालन र समन्वयमा खमाराले उल्लेखनीय अनुभव हासिल गरेको उनको भनाइ छ।

जेलेन्स्कीका अनुसार खमाराले सुरक्षा सेवामा रहँदा विभिन्न जटिल अभियानको नेतृत्व गरेका छन्। उनले विशेष रूपमा ड्रोन, साइबर सुरक्षा, गुप्तचर समन्वय तथा आधुनिक सैन्य प्रविधिको प्रयोगसँग सम्बन्धित अभियानहरूमा काम गर्दै व्यापक अनुभव बटुलेका छन्। ती अनुभवले अहिलेको युद्ध परिस्थितिमा रक्षा मन्त्रालयलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्न मद्दत पुग्ने राष्ट्रपति जेलेन्स्कीको विश्वास छ।

राष्ट्रपतिले खमाराले प्राविधिक युद्ध अभियानहरूमा “व्यापक र धेरै मामिलामा अभूतपूर्व अनुभव” हासिल गरेको उल्लेख गर्दै वर्तमान चुनौतीपूर्ण अवस्थामा यस्तो अनुभव अत्यन्त महत्वपूर्ण हुने बताएका छन्। उनले युक्रेनको रक्षा क्षमता सुदृढ बनाउन र युद्ध सञ्चालनलाई अझ प्रभावकारी बनाउन सक्षम नेतृत्व आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन्।

युक्रेन र रुसबीचको युद्ध जारी रहेका बेला जेलेन्स्कीले रक्षा क्षेत्रको नेतृत्वमा परिवर्तन गर्न खोजेको कदमलाई रणनीतिक महत्वका साथ हेरिएको छ। युद्धको बदलिँदो प्रकृति, आधुनिक प्रविधिको बढ्दो प्रयोग र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अनुभवी सुरक्षा अधिकारीलाई रक्षा मन्त्रालयको नेतृत्वमा ल्याउने प्रयास गरिएको विश्लेषण गरिएको छ।

खमाराको नियुक्ति सम्बन्धी प्रस्तावले आवश्यक संवैधानिक तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि औपचारिक रूप लिन सक्ने अपेक्षा गरिएको छ।

 

लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच फालौँ : आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली राजनीतिबाट अधिनायकवादी सोच, लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय र भ्रष्टाचारलाई सदाका लागि बिदा गर्नुपर्ने बताएका छन् ।

साउने संक्रान्ति तथा लिम्बू समुदायले मनाउने सिसेःक्पा तङ्नामको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘साउने संक्रान्तिमा लुतो फालेर रोग र अशुभलाई बिदा गरेझैँ अब हामीले लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय, भ्रष्टाचार र अधिनायकवादी सोचलाई पनि सदाका लागि विदा गर्नुपर्छ ।’

आङ्देम्बेले देशमा निरंकुश शासकीय प्रवृत्ति बढ्दै गएको दाबी गर्दै नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको र निमुखा तथा निर्धन जनताको आवाज दबाउने प्रवृत्ति बढेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

उनले लोकतन्त्रको केन्द्रमा जनता हुनुपर्ने र जनतालाई शासनको विषय नभई राज्यशक्तिको केन्द्रका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।

‘जनता नै सार्वभौमसत्ताको स्रोत हुन् भन्ने लोकतान्त्रिक मान्यतालाई व्यवहारमा स्थापित गर्दै संविधान, विधिको शासन, सामाजिक न्याय र समृद्ध नेपालको निर्माणमा साउने संक्रान्ति र सिसेस्क्पा तङ्नाम पर्व प्रतिबद्धताको दिन पनि बनोस्,’ उनले भने ।

आङ्देम्बेले साउने संक्रान्ति, सिसेःक्पा तङ्नामजस्ता पर्वले प्रकृतिप्रतिको सम्मान, श्रमको मूल्य, सहअस्तित्व र समृद्धिको सन्देश दिने पनि उल्लेख गरेका छन् ।

बालेन-लिङ्देन भेटको अन्तर्य के?

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार भेटवार्ता भयो।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको यो भेटलाई सामान्य शिष्टाचार भेट भनिएको भएपनि राजनीतिक सन्देशका हिसाबले सामान्य भेटका रूपमा मात्रै हेरिएको छैन। संविधान संशोधनको बहस तीव्र बनिरहेका बेला भएको यो संवादले नयाँ राजनीतिक अड्कलबाजीलाई जन्म दिएको छ।

सरकारले संविधान संशोधनका लागि सुझाव संकलन गर्न गठन गरेको बहसपत्र कार्यदलले आफ्नो अन्तिम चरणमा पुगेको छ। कार्यदलले केही समयभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरिरहेको छ। यही समयमा लामो समयदेखि राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा आन्दोलन गरिरहेको राप्रपाका अध्यक्षसँग प्रधानमन्त्रीको भेट हुनु अर्थपूर्ण मानिएको छ।

रोचक पक्ष के छ भने संविधान संशोधनका लागि गठन गरिएको कार्यदलबाट गणतन्त्रवादी धारका अधिकांश दल बाहिरिइसकेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले कार्यदलको कार्यदिशामाथि असहमति जनाउँदै सहभागिता अन्त्य गरेका छन्। ‘कार्यदलले संविधानको मूल मर्म, प्रस्तावना र आधारभूत मूल्यसँग मेल नखाने गरी काम गरिरहेको छ,’ कार्यदलबाट बाहिरिएका ती दलको आरोप छ। 

भेटवार्ता पछि बाहिरिने क्रममा लिङ्देनले संविधान संशोधनका विषय लगायतका विषयमा कुराकानी भएको बताए। संविधान संशोधन बहसपत्र कार्यदलमा राप्रपा मात्रै यथावत् रहेको सन्दर्भमा लिङ्देनले अरु दल बाहिरिएको कारण पेश गरे। ‘बाहिरिएका दलले भनेजस्तै सरकार गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताका स्वरुपमा परिवर्तन गर्न चाहन्छ भने हाम्रो(राप्रपा) को सहयोग रहन्छ।’ यो अभिव्यक्तिले पनि प्रधानमन्त्री शाह र लिङ्देनको बीचमा भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ। 

संविधानका आधारभूत विशेषता मानिएका संघीय लोकतान्त्रिक गणतन्त्र, संघीय शासन व्यवस्था र धर्मनिरपेक्षतामाथि प्रहार हुने गरी बहस अघि बढाइएको कार्यदलबाट बाहिरिएका दलहरुको दाबी छ। कार्यदलबाट बाहिरिएका एक नेताले भने, ‘हामी संविधानका आधारभूत सिद्धान्तलाई कमजोर पार्ने प्रक्रियामा सहभागी हुन सक्दैनौं। गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि प्रहार स्वीकार्य हुँदैन, त्यसैले कार्यदलबाट बाहिरिएका हौं।’

गणतन्त्रवादी दलहरू कार्यदलबाट बाहिरिए पनि राप्रपाले भने आफ्नो सहभागिता कायम राखेको छ। राप्रपा लामो समयदेखि वर्तमान संविधानको प्रस्तावनामा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई परिवर्तन गरी संवैधानिक राजसंस्था र सनातन हिन्दुराष्ट्र पुनःस्थापनाको पक्षमा उभिँदै आएको छ। यही कारण संविधान संशोधनको बहसमा राप्रपाको भूमिका अहिले झन् महत्वपूर्ण देखिन्छ। 

कार्यदलबाट बाहिरिएक मध्ये एक दलका नेताले भने, ‘बहसपत्रमा धर्मसापेक्ष कि धर्म निरपेक्ष भन्ने एजेन्डामा जनमत संग्रह गराउने सम्मका विषयहरु समावेश गर्न खोजिएको छ।’ उनका अनुसार बहसपत्रमा संघीयता खारेजीको विषय पनि प्रवेश गराउन खोजिएको छ। ‘जसमा हाम्रो गम्भीर आपत्ति रहन्छ,’ उनले भने।  

यसबीच बुधबार मात्रै संसदमा प्रमुख विपक्षी दलहरूले दर्ता गरेको सार्वजनिक महत्वको जरुरी प्रस्तावमा पनि राप्रपा सहभागी भएन। राजनीतिक विश्लेषकहरूका अनुसार यो दूरी केवल संसदीय रणनीति मात्र नभई संविधान संशोधनको विषयमा राप्रपाले छुट्टै राजनीतिक बाटो रोजेको संकेत हो।

अब केही समय अगाडिका घटनाहरुमा पुगौँ-

प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संविधानसम्बन्धी दृष्टिकोणबारे पनि राजनीतिक वृत्तमा बेला-बेला बहस हुने गरेको छ। औपचारिक रूपमा रास्वपाले गणतन्त्रको विरोध नगरे पनि संघीय संरचनाप्रति आलोचनात्मक धारणा राख्दै आएको छ। चितवनमा सम्पन्न रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनले प्रदेशसभा खारेज गर्ने तथा निर्दलीय स्थानीय तहको अवधारणा समेटिएको अर्थ-राजनीतिक प्रतिवेदन पारित गरेको थियो। उक्त निर्णयले राजनीतिक वृत्तमा व्यापक बहस जन्माएको छ भने रास्वपा भित्रै पनि संघीयताबारे फरक मत रहेको चर्चा हुँदै आएको छ।

प्रधानमन्त्री शाहको राजनीतिक सन्देशबारे प्रश्न उठ्ने अर्को घटना गणतन्त्र दिवसमा देखियो। हरेक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको थियो। तर यस वर्ष सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री शाहले सम्बोधन गरेनन्। उनको स्थानमा राष्ट्रपतिले सम्बोधन गरे। यसलाई लिएर प्रधानमन्त्रीको गणतन्त्रप्रतिको राजनीतिक प्रतिबद्धताबारे विभिन्न टिप्पणी भए।

त्यसअघि २८ वैशाखमा सरकारले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्यो। त्यसक्रममा पनि राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दापढ्दै प्रधानमन्त्री शाह बीचमै बाहिरिए। सरकार आफैंले प्रस्तुत गरेको कार्यक्रम पढ्ने बेलामा ‘उनी त्यसरी किन हतार गरेर निस्किए?’ यो विषय पनि सार्वजनिक बहसको विषय बन्यो।

यही अवधिमा प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपतिलाई राजीनामा दिन दबाब दिइएको भन्ने समाचार पनि सार्वजनिक भए। ती समाचारमा बाबुराम भट्टराईलाई राष्ट्रपतिको भूमिकामा ल्याउने उद्देश्यले यस्तो दबाब सिर्जना गरिएको दाबी गरिए पनि त्यसको औपचारिक पुष्टि भने कतै भएको छैन। तर, यसले ‘के प्रधानमन्त्री शाह राष्ट्रपति संस्था मास्न चाहन्छन्?’ गम्भीर प्रश्न भने खडा भएको छ।  

यी सबै घटनाक्रमलाई एकै सूत्रमा जोडेर हेर्नेहरू बढिरहेका छन्। संविधान संशोधनको बहस, राप्रपासँग प्रधानमन्त्रीको संवाद, रास्वपाको संघीयताबारेको प्रस्ताव, गणतन्त्र दिवस तथा त्यसपछिको प्रधानमन्त्रीको मौनता तथा पछिल्ला राजनीतिक चर्चाले आज भएको यो भेटवार्तालाई अझ अर्थपूर्ण बनाउछ।

रविसँग बालेनकाे प्रस्ताव -अर्थमन्त्री, कानुनमन्त्री गाैतम र महान्यायाधिवक्ता कँडेललाई हटाइदिउँ

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम र महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई हटाउन चाहेका छन्। उनले यो कुरा सभापति रवि लामिछानेसँग गरेका छन्।

तर, सभापति रविले अस्वीकार गरेका छन्। अर्थमन्त्री वाग्ले, कानुनमन्त्री गौतम र महान्यायाधिवक्ता कँडेल रवि निकट हुन्। तर, यही २८ असारमा रवि निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री बालेनले तिनै जनालाई हटाउनुपर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ।

अर्थमन्त्री वाग्लेले १५ जेठमा बजेट ल्याउनुअघि बीवाईडी गाडी भित्र्याउनका लागि करको दर हेरफेरको सूचना व्यापारीलाई चुहाएर सरकारको बदनामी गरेको, गलत मान्छेहरूलाई विभिन्न नियुक्ति दिएको र शेयर बजारमा सुधार पटक्कै नभएको भन्दै हटाउनुपर्ने तर्क गरेका थिए।

यस्तै, सरकारका अधिकांश निर्णय अदालतले उल्टाइदिएको र त्यसमा कानुनमन्त्रीका रूपमा सोविता गौतम र महान्यायाधिवक्ता कँडेलको भूमिका कमजोर देखिएको भन्दै प्रधानमन्त्री बालेन असन्तुष्ट छन्। बुधबार मात्रै सम्पत्ति छानबिनसम्बन्धी बालेन सरकारको कदम अघि नबढाउन सर्वोच्चले आदेश दिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका थुप्रै नेता सर्वोच्चकै आदेशअनुसार रिहा भएको भन्दै प्रधानमन्त्री बालेन सोविता र कँडेलसँग रिसाएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री बालेनको असन्तुष्टि सुनेपछि सभापति लामिछानेले पनि बालेनका प्रमुख स्वकीय सचिव कुमार बेन र राजनीतिक सल्लाहकार असीम शाहलाई हटाउन सुझाएका थिए। पछिल्ला दिनहरूमा रवि र बालेनबीच मनमुटाव हुन थालेको छ।

रास्वपाकै घेराउमा बालेन सरकार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन हुँदा जनताले सबैभन्दा धेरै अपेक्षा गरेको विषय सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाह थियो।

तर पुराना राजनीतिक दलप्रति बढ्दो निराशाका बीच परिवर्तनको एजेन्डा बोकेर सत्तामा पुगेको रास्वपाले एक सय दिन पूरा नहुँदै लत्ता छोडेको लाञ्छना लाग्न थालेको छ।  सरकार अहिले आफ्नै पार्टीभित्रबाट चर्को आलोचनाको राडरमा छ।

सरकारको विपक्षमा प्रतिपक्षीभन्दा आफ्नै सांसदहरू बढी मुखर देखिएका छन्।

यसबीच पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)बीच सरकारको कार्यसम्पादनबारे छुट्टै छलफल समेत भयो। निकट स्रोतका अनुसार उक्त छलफलमा विशेषगरी सुकुम्बासी व्यवस्थापन, सरकारको निर्णय प्रक्रिया र जनस्तरमा देखिएको असन्तुष्टिबारे समीक्षा गरिएको थियो।

प्रतिनिधिसभा अघि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सुकुम्बासी व्यवस्थापन गर्दा नागरिकले अनावश्यक दुःख पाउन नहुने र राज्यले मानवीय संवेदनशीलतालाई प्राथमिकता दिनुपर्ने धारणा प्रधानमन्त्रीसमक्ष राखेको बताए।

तर, प्रधानमन्त्री बालेनले भने सरकारको कामको आलोचनाभन्दा पार्टी संगठनभित्रै बाँकी रहेका काम र संरचनागत विषयमा ध्यान दिनुपर्ने धारणा राखेको बताइन्छ। महाधिवेशनपछि पनि पदाधिकारी र केन्द्रीय समितिलाई पूर्णता दिन ढिलाइ भएको विषय प्रधानमन्त्रीले उठाएको स्रोत बताउँछ।

रास्वपाको चितवन महाधिवेशनपछि पार्टीभित्र दबिएर रहेका असन्तुष्टिका आवाज खुला रूपमा बाहिर आउन थालेका छन्। विशेषगरी सुकुम्बासी व्यवस्थापन, प्रधानमन्त्रीका केही सार्वजनिक अभिव्यक्ति र शेयरिङ राइडर गणेश नेपालीको आत्मदाहपछि सरकारको भूमिकालाई लिएर सांसदहरू विभाजित देखिएका छन्।

सरकारले नदी किनार र सार्वजनिक जग्गामा रहेका बस्ती हटाउने अभियान सञ्चालन गर्दा वैकल्पिक व्यवस्थापन कमजोर भएको भन्दै रास्वपाकी प्रमुख सचेतक क्रान्तिशिला धितालले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेकी थिइन्। उनले सामाजिक सञ्जालमार्फत सुकुम्बासी व्यवस्थापन आवश्यक भए पनि त्यसलाई मानवीय संवेदनशीलता, पर्याप्त तयारी र योजनासहित अघि बढाउनुपर्ने उल्लेख गर्दै सरकारको कार्यशैलीप्रति असहमति जनाएकी थिइन्।

यसैगरी प्रमुख सचेतक प्रकाशचन्द्र परियारले सञ्चारमाध्यमका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएका घटनाप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको रक्षा लोकतन्त्रको आधारभूत शर्त भएको बताएका थिए। सञ्चारमाध्यममा कमजोरी हुन सक्ने भए पनि त्यसको समाधान दबाब र त्रास सिर्जना गरेर खोज्न नहुने उनको धारणा थियो।

शेयरिङ राइडर गणेश नेपालीको आत्मदाहले पनि सरकारमाथि ठूलो नैतिक दबाब सिर्जना गर्‍यो। घटनापछि सरकार संवेदनशील रूपमा प्रस्तुत हुन नसकेको भन्दै विपक्षी दलले मात्रै होइन, रास्वपाभित्रकै सांसदहरूले पनि प्रश्न उठाए।

सांसद सुशान्त वैदिकले संसदमै बोल्दै आत्मदाह वा आत्महत्याजस्ता घटनालाई केवल व्यक्तिगत समस्या भनेर राज्य पन्छिन नमिल्ने बताएका थिए। उनका अनुसार नागरिक निराश हुनुको कारण बुझेर राज्यले संवाद र समाधानको बाटो खोज्नुपर्छ।

त्यसको भोलिपल्ट सांसद केपी खनालले बढ्दो मानसिक स्वास्थ्य समस्याबारे संसदमा ध्यानाकर्षण गराउँदै मानसिक स्वास्थ्य नीतिमा सुधार र छुट्टै मानसिक स्वास्थ्य परिषद् गठन गर्न सरकारसँग माग गरेका थिए। उनले आत्मदाहजस्ता घटनाले समाजमा गहिरो चिन्ता पैदा गरेको उल्लेख गरेका थिए।

यता, महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका मनिष झाले पनि सामाजिक सञ्जालमार्फत सञ्चारगृह तथा अन्य स्थानमा शंकास्पद रूपमा गाडी पार्किङ गरिएका घटनाको कडा आलोचना गरे। उनले यस्ता गतिविधिमा संलग्न जोसुकै भए पनि अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने बताए।

यस विवादपछि रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले औपचारिक विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रतालाई प्रभावित पार्ने कुनै पनि गतिविधिको पार्टीले विरोध गर्ने स्पष्ट पारे। उनले गाडी आतंकको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएका थिए। त्यसपछि सभापति रवि लामिछानेले पनि यदि आफ्नै पार्टीका कार्यकर्ता संलग्न देखिए पनि कानुनअनुसार कारबाही गरिने बताए।

तर गृहको फोनपछि गाडीधनी बुझाई सकिएको छ।

यता, उद्योगी-व्यवसायीको मनोबल बढाउन नसकेको, किसानलाई समयमा मल उपलब्ध गराउन नसकेको, सार्वजनिक सेवा प्रवाह प्रभावकारी नबनेको तथा मेरिटोक्रेसीको प्रतिबद्धता अनुसार नियुक्ति प्रक्रिया अघि बढ्न नसकेको भन्दै पनि रास्वपाका सांसदहरू असन्तुष्ट देखिएका छन्।

सरकारको बचाउमा भने केही सांसद खुलेर उत्रिएका छन्। सांसद सन्तोष राजवंशीले सरकारलाई परिणाम दिन अझै समय बाँकी रहेको भन्दै प्रारम्भिक चुनौतीका आधारमा सरकारको मूल्याङ्कन गर्न नहुने बताएका छन्। भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले पनि सरकारले नीतिगत सुधारमार्फत परिणाम दिने गरी काम गरिरहेको दाबी गरेका थिए। यद्यपि उनै ठेकेदारको खुट्टा भाँच्ने तथा अन्य विवादित अभिव्यक्तिबाट आलोचनाको चपेटामा छन्।

रास्वपा नेतृत्वको सरकार अहिले विपक्षी दलको भन्दा आफ्नै पार्टीभित्रबाट उठिरहेका प्रश्न र असन्तुष्टिको सामना गर्न बाध्य भएको छ।

राप्रपा-बालेन एक घण्टा भेटघाट, के-के भयो छलफल?

काठमाडौं। सरकार गठन भएको १०० दिन पूरा भएपछि प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले प्रमुख राजनीतिक दलहरूसँग संवादको श्रृंखला सुरु गरेका छन्।

सोही क्रममा बिहिवार प्रधानमन्त्री शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब एक घण्टा लामो भेटवार्ता गरेका छन्।

भेटमा प्रधानमन्त्री शाहसँग उनका प्रमुख सल्लाहकार कुमार बेन र मुख्य स्वकीय सचिव सुवास शर्मा सहभागी थिए। राप्रपाका तर्फबाट अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा प्रमुख सचेतक खुस्बु ओली उपस्थित थिए।

छलफलमा समसामयिक राजनीतिक अवस्था, संविधान संशोधन, किसानका समस्या, सुकुम्बासी व्यवस्थापन, स्वास्थ्य बीमा र संसदप्रति सरकारको जवाफदेहितालगायत विषयमा विस्तृत छलफल भएको बताइएको छ।

भेटमा राप्रपाले संविधान संशोधनको बहसलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्दै आफूहरूले उठाउँदै आएका राजसंस्था पुनर्स्थापना, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने तथा संघीयता पुनरावलोकन जस्ता विषय पनि बहसको दायरामा समेटिनुपर्ने धारणा राखेको थियो।

जवाफमा प्रधानमन्त्री शाहले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने कार्यदलले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको जानकारी दिएका थिए। प्रधानमन्त्रीका सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले संविधानविद्, राजनीतिक दल तथा विभिन्न सरोकारवालासँग छलफल गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले तत्काल संविधान संशोधन प्रक्रिया सुरु गर्ने नभई प्रारम्भिक बहसको आधार तयार पार्ने काम भइरहेको स्पष्ट पारे।

खेतीको मुख्य याममै किसानले रासायनिक मलको अभाव झेलिरहेको भन्दै राप्रपाले सरकारको ध्यानाकर्षण गराएको थियो।

प्रधानमन्त्री शाहले मल आपूर्तिमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको र किसानलाई मल अभाव हुन नदिने गरी व्यवस्थापन भइरहेको जानकारी दिएका थिए।

राप्रपा नेताहरूले काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्बासी परिवारको व्यवस्थापन अझै प्रभावकारी हुन नसकेको विषय पनि उठाएका थिए।

प्रधानमन्त्री शाहले सुकुम्बासीको दीर्घकालीन व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै काठमाडौंभित्र जग्गा उपलब्ध गराउन कठिन भए पनि वैकल्पिक व्यवस्थापनको काम भइरहेको बताए।

उनका अनुसार होल्डिङ सेन्टरमध्ये एउटा स्थानमा देखिएको समस्या पनि समाधानको चरणमा पुगेको छ।

छलफलमा राप्रपाले निजी अस्पतालमा पनि स्वास्थ्य बीमा सेवा पुनः पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेको थियो।

प्रधानमन्त्री शाहले स्वास्थ्य बीमा प्रणालीमा देखिएका संरचनागत समस्या सुधार नगरी सेवा विस्तार गर्दा थप जटिलता आउने भएकाले व्यवस्थापन सुधारको काम भइरहेको बताए। सुधारपछि सेवा थप प्रभावकारी रूपमा सञ्चालन गरिने उनको भनाइ थियो।

भेटमा राप्रपाले प्रधानमन्त्री संसदमा नियमित उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने विषयलाई पनि प्रमुख रूपमा उठाएको थियो।

भारतसँगको सीमा सम्बन्धी अभिव्यक्तिपछि प्रधानमन्त्री शाह लामो समय संसदमा अनुपस्थित रहेको विषय उल्लेख गर्दै राप्रपाले संसदप्रति सरकारको जवाफदेहिता सुनिश्चित गर्न आग्रह गरेको थियो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीले उठाइएका सबै विषयमा सकारात्मक प्रतिक्रिया दिएको बताए।

प्रमुख सचेतक खुस्बु ओलीले सरकार र प्रतिपक्षबीच नियमित संवाद आवश्यक रहेको धारणा राख्दै संसदमार्फत सरकारका कामबारे जानकारी गराइरहनुपर्ने सुझाव दिएकी थिइन्।

प्रधानमन्त्री शाहले आफू राजनीतिक दलहरूसँग निरन्तर संवाद गर्न तयार रहेको बताएका छन्। उनले संसदमा पनि क्रमशः नियमित उपस्थित हुने र आवश्यक विषयमा जवाफ दिने प्रतिबद्धता व्यक्त गरेको राप्रपा नेताहरूले बताएका छन्।

भेटका क्रममा प्रधानमन्त्रीले भ्रष्टाचार वा अनियमिततासम्बन्धी कुनै सूचना भए सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जानकारी गराउन समेत आग्रह गरेका थिए।

सरकार गठनको १०० दिनपछि प्रधानमन्त्री शाहले प्रमुख दलहरूसँग औपचारिक राजनीतिक संवाद सुरु गरेका बेला भएको यो भेटलाई आगामी राजनीतिक सहकार्य, संसदको प्रभावकारिता र सरकार–प्रतिपक्ष सम्बन्ध सुधारका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।

विमानस्थल अनुगमनमा कर्मचारीलाई रास्वपा सांसद जगदीश खरेलले थर्काएपछि…

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेल र आइएमएस सर्भिसेजकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) चारू श्रेष्ठबीच भएको भनाभनको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।

विमानस्थलको प्रतीक्षालयमा यात्रुका आफन्तसँग ५० र १०० रुपैयाँ प्रवेश शुल्क असुलिएको विषयमा अनुगमनका क्रममा सांसद खरेलले कम्पनीसँग भएको सम्झौतासम्बन्धी कागजात मागेका थिए। उनले शुल्क उठाउने कानुनी आधार र सम्झौताको विवरणबारे जानकारी लिन खोजेका थिए।

जवाफमा सिइओ श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयसँग भएको सम्झौताअनुसार कम्पनीले सेवा सञ्चालन गरिरहेको बताउँदै आवश्यक कागजात सम्बन्धित सरकारी निकायमार्फत माग्नुपर्ने धारणा राखेकी थिइन्। उनले कम्पनीले एकल रूपमा ती कागजात उपलब्ध गराउन नमिल्ने स्पष्ट पारेकी थिइन्।

कागजात तत्काल उपलब्ध नगराइएपछि सांसद खरेल आक्रोशित बनेका थिए। घटनापछि उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आफू कागजात नदेखाइएकाले असन्तुष्ट भएको स्वीकार गरे। साथै यात्रुका आफन्तबाट प्रतीक्षालयमा प्रवेश शुल्क उठाउने व्यवस्था नै अनुचित भएको उनको भनाइ थियो।

यता सिइओ श्रेष्ठले भने सांसदहरू अचानक आफ्नो कार्यकक्षमा आएर आक्रोशित शैलीमा प्रस्तुत हुँदा आफू अचम्ममा परेको प्रतिक्रिया दिएकी छन्। उनका अनुसार कम्पनीले सम्झौताअनुसार सेवा सञ्चालन गरिरहेको र आवश्यक कागजात सम्बन्धित निकायबाटै उपलब्ध गराउनुपर्ने प्रक्रिया रहेको छ।

यस घटनापछि सामाजिक सञ्जालमा सांसदको व्यवहार र निजी सेवा प्रदायक कम्पनीको भूमिकालाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले सार्वजनिक सेवा र शुल्क व्यवस्थापनबारे सांसदले प्रश्न उठाउनु उचित भएको बताएका छन् भने केहीले अनुगमनका क्रममा मर्यादित व्यवहार आवश्यक हुने टिप्पणी गरेका छन्।

उक्त विषयमा संघीय संसद्को अर्थ समितिले तयार पारिएको अनुगमन प्रतिवेदनमाथि छलफल गर्न बाँकी रहेको छ।

समितिको छलफलपछि विमानस्थलको प्रतीक्षालय शुल्क, सेवा सञ्चालनको कानुनी आधार तथा सम्बन्धित सम्झौताबारे थप निष्कर्ष आउने अपेक्षा गरिएको छ।

मन्त्रिपरिषदको निर्णय : सांसदले फेरि पाउने भए स्वकीय सचिव

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले संघीय सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था पुनः लागू गरेको छ। यससँगै तत्कालीन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले खर्च कटौतीका लागि खारेज गरेको सुविधा फेरि ब्युँतिएको हो।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्दै सांसदलाई स्वकीय सचिव नियुक्त गर्न पाउने व्यवस्था पुनः लागू गर्ने निर्णय गरेको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मन्त्रिपरिषद्को निर्णयअनुसार अब संघीय सांसदहरूले पुनः स्वकीय सचिव राख्न सक्ने जानकारी दिइन्। उनका अनुसार यसअघि सांसदहरूले पाउँदै आएको सुविधा नै पुनः कायम गरिएको हो।

२०८२ असोज ५ गते तत्कालीन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सार्वजनिक खर्च कटौती गर्ने उद्देश्यले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो।

त्यतिबेला जनदबाब र जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले राज्यको अनावश्यक खर्च घटाउने नीति अन्तर्गत सांसदका स्वकीय सचिव, केही सवारी सुविधा तथा अन्य प्रशासनिक खर्चमा कटौती गरेको थियो। उक्त निर्णयलाई मितव्ययिताको कदमका रूपमा व्याख्या गरिएको थियो।

स्वकीय सचिवको व्यवस्था पुनः लागू गर्न संघीय संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले २०८२ चैत ३० गते बसेको बैठकबाट आवश्यक सिफारिस गरेको थियो।

समितिले स्वकीय सचिवको योग्यता, जिम्मेवारी तथा सेवा–सुविधालाई स्पष्ट मापदण्डभित्र राखी व्यवस्था पुनः सञ्चालन गर्न सरकारलाई सुझाव दिएको थियो। त्यसपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ऐनको अनुसूची संशोधन गर्ने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गरेको थियो।

केही समयदेखि विचाराधीन रहेको उक्त प्रस्तावलाई मन्त्रिपरिषद्ले मंगलबार स्वीकृति दिएको हो।

यसअघि लागू रहेको व्यवस्थाअनुसार संघीय सांसदहरूले स्नातक उत्तीर्ण योग्यता भएका शाखा अधिकृत (अधिकृतस्तर) सरह सेवा–सुविधा प्राप्त गर्ने स्वकीय सचिव नियुक्त गर्न पाउने व्यवस्था थियो। नयाँ निर्णयसँगै पुनः सोही व्यवस्था लागू हुने भएको छ।

स्वकीय सचिवले सांसदको कार्यालय व्यवस्थापन, पत्राचार, संसदीय गतिविधिको समन्वय, अध्ययन–अनुसन्धान तथा प्रशासनिक सहयोग गर्ने जिम्मेवारी निर्वाह गर्नेछन्।

सरकारको निर्णयसँगै राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। समर्थकहरूले सांसदको संसदीय कार्यसम्पादन प्रभावकारी बनाउन स्वकीय सचिव आवश्यक रहेको तर्क गरेका छन्। उनीहरूका अनुसार संसदीय समितिको काम, विधेयक अध्ययन, नागरिकसँगको समन्वय र कार्यालय व्यवस्थापनका लागि सांसदलाई दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले यस्तो व्यवस्था उपयोगी हुने विश्वास व्यक्त गरेका छन्।

यता आलोचकहरूले भने सार्वजनिक खर्च नियन्त्रणको आवश्यकता रहेको अवस्थामा हटाइएको सुविधा पुनः लागू गर्नु उचित नभएको टिप्पणी गरेका छन्। राज्यले मितव्ययिताको नीति अवलम्बन गर्नुपर्ने बेलामा अतिरिक्त प्रशासनिक खर्च बढाउने निर्णयले गलत सन्देश जाने उनीहरूको भनाइ छ।

राजपत्रमा संशोधित अनुसूची प्रकाशित भएपछि संघीय सांसदहरूले औपचारिक रूपमा पुनः स्वकीय सचिव नियुक्त गर्न सक्नेछन्।

मन्त्रिपरिषद् बैठक सुरु,के-के छन् एजेण्डा ?

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित प्रशासनिक तथा नीतिगत एजेन्डामाथि छलफल भइरहेको छ।

मन्त्रालयहरूले अघि सारेका विभिन्न प्रस्ताव, समसामयिक प्रशासनिक विषय, नियुक्ति, नीति कार्यान्वयनको अवस्था तथा अन्य नियमित सरकारी कामकारबाही बैठकका मुख्य एजेन्डा रहेका छन्।

सरकारले पछिल्लो समय विभिन्न मन्त्रालयमार्फत अघि बढाइरहेका योजना तथा कार्यक्रमको प्रगति समीक्षा गर्ने, आवश्यक निर्णयहरू गर्ने र मन्त्रालयहरूबाट आएका प्रस्तावमाथि निर्णय लिने तयारी पनि बैठकमा रहेको स्रोतले जनाएको छ।

अमेरिका-इरान तनावबीच पाकिस्तान

एजेन्सी। मध्यपूर्वमा अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढ्दै गएपछि पाकिस्तानले दुवै देशलाई तत्काल हिंसा अन्त्य गरी कूटनीतिक संवादको मार्गमा फर्किन आग्रह गरेको छ।

गत महिना दुवै पक्षबीच भएको प्रारम्भिक समझदारी (एमओयू) कार्यान्वयनमा ल्याउँदै वार्ता पुनः सुरु गर्नुपर्नेमा जोड दिँदै पाकिस्तानले वर्तमान सङ्कटको समाधान युद्धबाट नभई संवादबाट मात्र सम्भव हुने स्पष्ट पारेको हो।

पछिल्ला केही दिनयता अमेरिका र इरानबीच सैन्य गतिविधि तीव्र बन्दै जाँदा मध्यपूर्वको सुरक्षा अवस्था पुनः जटिल बनेको छ। दुवै पक्षले एकअर्काका रणनीतिक हितलाई लक्षित गरी आक्रमण र जवाफी कारबाही जारी राखेका कारण क्षेत्रीय तनाव थप बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिहीबार इस्लामाबादमा आयोजित नियमित पत्रकार सम्मेलनमा पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले समझदारी कार्यान्वयनमा चुनौती देखिए पनि सबै पक्षलाई हिंसा रोक्न र प्राविधिक तहको संवाद पुनः सुरु गर्न प्रोत्साहित गरिने बताए।

उनका अनुसार पाकिस्तानले मध्यस्थकर्ताको रूपमा आफ्नो भूमिका निरन्तर निभाइरहेको छ र वर्तमान परिस्थितिमा सबै पक्षले संयमता अपनाउनु आवश्यक छ। उनले सैन्य गतिविधि बढ्दै जाँदा सम्पूर्ण क्षेत्रको शान्ति र स्थायित्व जोखिममा पर्ने भएकाले तत्काल तनाव न्यूनीकरणका लागि कूटनीतिक पहल आवश्यक रहेको बताए।

अमेरिका र इरानबीचको पछिल्लो तनावको मुख्य केन्द्र हर्मुज जलघाँटी बनेको छ। विश्वको सबैभन्दा महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक मानिने यो जलघाँटीबाट दैनिक ठूलो परिमाणमा कच्चा तेल र प्राकृतिक ग्यास विश्व बजारतर्फ निर्यात हुने गर्दछ।

पाकिस्तानले हर्मुज जलघाँटीमा समुद्री सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै अन्तर्राष्ट्रिय जहाजहरूको निर्बाध आवागमन सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। प्रवक्ता अन्द्राबीले जलघाँटीको अवस्था छिट्टै सामान्य हुने अपेक्षा व्यक्त गर्दै कुनै पनि अवरोधले विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पार्न सक्ने चेतावनी दिए।

हर्मुज जलघाँटीमा बढेको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा पुनः वृद्धि देखिएको छ। ऊर्जा आपूर्तिको मुख्य मार्ग जोखिममा परेपछि विश्वभरका बजारमा इन्धनको मूल्य बढ्ने चिन्ता बढेको हो।

विशेषज्ञहरूका अनुसार तेलको मूल्य बढेपछि अधिकांश आयातमुखी मुलुकमा इन्धन महँगिने, ढुवानी लागत बढ्ने, उत्पादन खर्च वृद्धि हुने र त्यसको प्रत्यक्ष असर खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्ने सम्भावना रहन्छ। यसले मुद्रास्फीति बढाउनुका साथै विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्न सक्छ।

गत जुन महिनामा अमेरिका र इरानबीच युद्धको जोखिम कम गर्ने उद्देश्यले प्रारम्भिक समझदारी भएको थियो। त्यस क्रममा दुवै पक्षले तनाव कम गर्दै प्राविधिक तथा कूटनीतिक वार्ता अघि बढाउने सहमति गरेका थिए।

तर पछिल्ला सैन्य आक्रमण र जवाफी कारबाहीका कारण उक्त समझदारी प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। यसले दुवै देशबीचको विश्वासको वातावरण कमजोर बनाएको विश्लेषण गरिएको छ।

पाकिस्तानले यस अवस्थालाई चिन्ताजनक भन्दै दुवै पक्षले समझदारीप्रति प्रतिबद्ध रहनुपर्ने र वार्तालाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएको छ।

पाकिस्तानका विदेश मन्त्रालयका अनुसार अमेरिका–इरान तनाव केवल दुई देशबीचको विषय मात्र नभई यसले सम्पूर्ण विश्व अर्थतन्त्र, ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार तथा खाद्य सुरक्षामा समेत व्यापक प्रभाव पार्न सक्छ।

विशेषगरी ऊर्जा आपूर्तिमा अवरोध आएमा विकासशील तथा आयातमा निर्भर राष्ट्रहरू सबैभन्दा बढी प्रभावित हुने चेतावनी दिइएको छ।

इन्धनको मूल्यवृद्धिले उद्योग, यातायात, कृषि र उत्पादन क्षेत्रमा अतिरिक्त आर्थिक भार पर्ने भएकाले यसको असर विश्वव्यापी रूपमा फैलिन सक्ने विश्लेषण गरिएको छ।

पाकिस्तानले सबै पक्षलाई संयमता अपनाउँदै युद्धको विकल्प रोज्नुभन्दा संवाद, कूटनीति र पारस्परिक विश्वासको आधारमा समाधान खोज्न आग्रह गरेको छ।

साथै, वर्तमान परिस्थितिलाई थप जटिल बन्न नदिन अन्तर्राष्ट्रिय समुदायले पनि सक्रिय कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएको छ।

नेप्से साढे ७ अंकले बढ्यो

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबारको कारोबारमा ७.५३ अंकले बढेर २,५९७.८० विन्दुमा पुगेको छ।

दिनभर उच्च उतारचढाव देखिएको बजार अन्तिम समयमा सुधारिँदै हरियालीमा बन्द भएको हो।

आज १२१ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घटेको छ भने तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

बजारमा कुल ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँ बराबरको ९४ लाख ६९ हजार ९९ कित्ता सेयर ३९ हजार ५९५ पटक किनबेच भएको छ।

समूहगत परिसूचकतर्फ फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत् तथा उत्पादन एवं प्रशोधन समूहमा गिरावट आएको छ।

यता बैंकिङ, विकास बैंक, लगानी, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, व्यापार तथा अन्य समूहका सूचक भने बढेका छन्।

दिनभर बजारमा उतारचढाव रहे पनि अन्तिम चरणमा खरिदकर्ता सक्रिय बनेपछि नेप्से सकारात्मक अंकमा बन्द भएको हो।

प्रधानमन्त्री बालेन र लिङदेनबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार–प्रतिपक्षबीचको संवाद तथा राष्ट्रिय हितसँग सम्बन्धित विविध विषयमा छलफल केन्द्रित रहेको छ।

भेटवार्तामा प्रधानमन्त्री शाह र अध्यक्ष लिङदेनबीच पछिल्ला राजनीतिक घटनाक्रम, संसद्को भूमिका, सुशासन, सेवा प्रवाह, विकास निर्माणका प्राथमिकता तथा राष्ट्रिय सरोकारका विषयमा विचार आदानप्रदान भएको सचिवालयले जनाएको छ।

राप्रपाका तर्फबाट अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्य खुस्बु ओली पनि सहभागी छन्।

पछिल्लो समय केन्द्र र प्रदेशको राजनीतिक समीकरण परिवर्तन भइरहेका बेला प्रधानमन्त्री शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग निरन्तर संवाद गरिरहेका छन्।

सोही क्रममा राप्रपा नेतृत्वसँग भएको यो भेटलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्री बालेन र गभर्नर पौडेलबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)सँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेका छन्।

भेटका क्रममा मुलुकको शेयर बजारको पछिल्लो अवस्था, बैंकिङ तथा वित्तीय क्षेत्रका समसामयिक विषय र आर्थिक गतिविधिसँग सम्बन्धित विविध पक्षमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार भेटमा वित्तीय प्रणालीको स्थायित्व, पूँजी बजारको अवस्था तथा अर्थतन्त्रसँग सम्बन्धित समग्र विषयमा विचार आदान–प्रदान भएको थियो।

पत्नीले गरिन् चक्कु प्रहार गरी पतिको हत्या , आठ वर्षीय छोरा रगताम्मे भेटिए

एजेन्सी। भारतको कर्नाटक राज्यस्थित धारवाडमा एक चिकित्सक आफ्नै फ्ल्याटमा चक्कु प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेका छन्। घटनास्थलमै उनका आठ वर्षीय छोरा गम्भीर घाइते अवस्थामा भेटिएपछि प्रहरीले मृतककी पत्नीलाई मुख्य शंकास्पदका रूपमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मृतक ४५ वर्षीय डा. किरण होन्नानवर हुन्। उनी निजी अस्पतालमा एनेस्थेसियोलोजिस्ट (बेहोस बनाउने विशेषज्ञ) का रूपमा कार्यरत थिए। घटना धारवाडको पवन हाई स्कुल नजिक रहेको रंका अपार्टमेन्टको छैटौँ तलास्थित फ्ल्याटमा भएको हो।

बुधबार प्रहरी घटनास्थलमा पुग्दा डा. किरणको शव रगतले लतपतिएको अवस्थामा फेला परेको थियो। उनको शरीरमा धारिलो हतियारबाट गरिएका धेरै गहिरा चोट देखिएको प्रहरीले जनाएको छ।

अर्को कोठामा उनका आठ वर्षीय अटिजम भएका छोरा गम्भीर घाइते अवस्थामा भेटिएका थिए। बालकको शरीरमा पनि चक्कुका चोट रहेको र तत्काल उपचारका लागि अस्पताल लगिएको जनाइएको छ। चिकित्सकहरूका अनुसार उनको अवस्था गम्भीर छ।

अनुसन्धानका क्रममा सबैभन्दा बढी ध्यानाकर्षण गराएको पक्ष मृतककी पत्नी डा. प्रियंका कटनाहल्लीको व्यवहार बनेको छ। उनी पनि पेशाले नेत्र रोग विशेषज्ञ हुन्।

प्रहरीका अनुसार घटनास्थलमा पुग्दा श्रीमानको शव रगताम्मे अवस्थामा थियो भने छोरा जीवन र मृत्युको संघर्ष गरिरहेका थिए। तर डा. प्रियंका भने अर्को कोठामा बसेर मोबाइल चलाइरहेकी थिइन्। साथै, फ्ल्याटमा बाहिरबाट जबरजस्ती प्रवेश गरिएको कुनै संकेत पनि फेला नपरेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार हत्या मंगलबार साँझ नै भएको हुन सक्ने अनुमान गरिएको छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार मंगलबार साँझदेखि डा. प्रियंकाले मृतकको मोबाइल फोन आफैं उठाउँदै आएकी थिइन्। विभिन्न व्यक्तिले फोन गर्दा उनले हरेक पटक फरक–फरक र असंगत जानकारी दिएको पाइएपछि हत्या अघिल्लो दिन नै भएको हुन सक्ने आशंका बलियो बनेको छ।

हुबली-धारवाडका प्रहरी आयुक्त एन. शशिकुमारका अनुसार डा. प्रियंकाले प्रारम्भिक सोधपुछका क्रममा स्पष्ट जवाफ दिन सकेकी छैनन्। उनले पटक–पटक बयान परिवर्तन गरेकी र मानसिक रूपमा असामान्य अवस्थामा देखिएको प्रहरीको भनाइ छ।

मृतकका परिवारले दिएको उजुरीका आधारमा घटनापछि कुनै गम्भीर पारिवारिक वा घरेलु विवाद रहेको हुन सक्ने कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले डा. प्रियंकाविरुद्ध हत्या मुद्दा दर्ता गरी नियन्त्रणमा राखेको छ। घटनाको वास्तविक कारण र समयक्रम पत्ता लगाउन सीसीटीभी फुटेज, फरेन्सिक परीक्षण, डिजिटल प्रमाण र स्थानीय बासिन्दाको बयान संकलन भइरहेको छ।

पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएपछि मृत्युको वास्तविक समय तथा घटनाबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।

प्रदेशलाई प्रतिपक्ष विहिन बनाउनु अलोकतान्त्रिक हुन्छ -सभापति थापा

काठमाडौं। नेपाली कांग्रेसले प्रदेशमा कांग्रेस, नेकपा एमाले र नेकपा सम्मिलित तीन दलीय सरकार गठनको प्रस्ताव अस्वीकार गरेको छ।

संसदलाई प्रतिपक्षविहीन बनाउने गरी सबै ठूला दल एउटै सरकारमा सहभागी हुनु लोकतान्त्रिक मूल्य-मान्यताविपरीत हुने कांग्रेसको निष्कर्ष छ।

कांग्रेस सभापति गगन थापाले प्रदेश सरकार गठनका लागि तीन दलको संयुक्त सरकार बनाउने प्रस्ताव आएको स्वीकार गर्दै त्यसलाई पार्टीले समर्थन गर्न नसक्ने स्पष्ट पारे। उनका अनुसार सरकार गठनका लागि बाध्यात्मक अवस्था सिर्जना भएमा दुई दलबीचको सहकार्य सम्भव भए पनि तीन ठूला दल एउटै सरकारमा रहनु उपयुक्त हुँदैन।

उनले भने, ‘प्रदेश सरकारमा प्रतिपक्ष नै नहुने गरी तीनवटै ठूला दल मिलेर सरकार बनाउनु अलोकतान्त्रिक हुन्छ। यस्तो अवस्थामा बरु एमाले र माओवादी मिलेर सरकार बनाए हुन्छ, हामी सरकार बाहिरै बस्छौं। सत्तामा टिक्नका लागि जोसँग जे पनि सम्झौता गर्ने दिन अब गए।’

कांग्रेसका अनुसार प्रदेश सरकारमा एमालेसँगको सहकार्य टुट्नुको मुख्य कारण सुदूरपश्चिम प्रदेशमा देखिएको बजेट विवाद हो। कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटप्रति सत्ता साझेदार एमालेले असहमति जनाउँदै पुनर्लेखनको माग गरेपछि दुई दलबीचको सम्बन्धमा दरार आएको पार्टीको निष्कर्ष छ।

महामन्त्री प्रदीप पौडेलले विपक्षी दलका कारण नभई सत्ता साझेदार एमालेकै असहयोगका कारण सुदूरपश्चिम सरकार संकटमा परेको बताए। ‘सत्ता गठबन्धनमा रहेर सरकारले ल्याएको बजेटको अपनत्व एमालेले लिएन। बरु बजेट पुनर्लेखनको माग गरियो, जबकि त्यसका लागि संवैधानिक रूपमा पर्याप्त समय नै थिएन,’ उनले भने। उनका अनुसार अन्य प्रदेशमा एमाले नेतृत्वका सरकारलाई कांग्रेसले यस्तै प्रकारको अवरोध नगरेको दाबी गरे।

प्रदेश सरकारमा देखिएको राजनीतिक संकट समाधानका लागि कांग्रेसका शीर्ष नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। छलफलका क्रममा ओलीले प्रदेश सरकारमा नेकपालाई पनि सहभागी गराउने प्रस्ताव राखेको स्रोतको दाबी छ। तर, कांग्रेसले तीन दलको संयुक्त सरकार बने संसदमा प्रभावकारी प्रतिपक्ष नरहने भन्दै उक्त प्रस्ताव अस्वीकार गरेको जनाएको छ।

कांग्रेसले एमालेसँगको प्रदेशस्तरीय सत्ता सहकार्य अन्त्य भएको निष्कर्ष निकाले पनि नेकपासँग सम्भावित सहकार्यका विकल्प भने खुला राखेको बताइएको छ।

प्रदेश सरकारको समीकरण फेरिने क्रम सुरु भइसकेको छ। एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारबाट कांग्रेसका चार मन्त्रीले राजीनामा दिइसकेका छन्।

यस्तै, सुदूरपश्चिम प्रदेशमा कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई पदमुक्त गरिसकेका छन्। अन्य प्रदेशमा पनि नयाँ राजनीतिक समीकरणबारे छलफल तीव्र बनेको छ।

एमालेले बागमतीबाट बोलायो ६ मन्त्रीलाई फिर्ता

हेटौँडा । वाग्मती प्रदेश सरकारबाट बाहिरिने नेकपा (एमाले)ले तयारी गरेको छ ।

वाग्मतीमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ । बिहीबार (असार ३२) बस्ने प्रदेश मन्त्रिपरिषद् बैठकमा एमालेतर्फका ६ मन्त्रीले सामूहिक राजीनामा बुझाउने तयारी गरेका हुन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमाले सत्तासाझेदारका रूपमा सहभागी छ ।

केन्द्रमा बुधवार बसेको कांग्रेस पदाधिकारी बैठकबाट सबै प्रदेशमा एमालेसँगको सत्तासहकार्य अन्त्य गर्ने निर्णय गरिएको थियो । योसँगै वाग्मतीमा पनि नयाँ सत्तासमीकरण बन्ने प्रक्रिया तीव्र बनेको हो ।

 

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगलाई झड्का

काठमाडौं। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि सम्पत्ति छानबिन आयोगका सबै कामकारबाही तत्कालका लागि रोकिएका छन्।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बुधबार दिएको अन्तरिम आदेश बिहीबार सार्वजनिक गर्दै आयोगलाई थप प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो।

अदालतले आदेशमा भनेको छ, ‘यस अदालतको संयुक्त इजलासबाट २६ असार २०८३ मा भएको आदेशको मर्म र भावनाविपरीत आयोगले २९ असारमा जारी गरेको सूचनाको दोस्रो खण्डमा उल्लेखित व्यवस्था कार्यान्वयन नगर्नू, नगराउनू।’

यसअघि सर्वोच्चको अन्तरिम आदेशपछि पनि आयोगले राजनीतिक पदाधिकारी तथा अन्य सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति विवरण संकलन, छानबिन र प्रतिवेदन तयार गर्ने कार्य भने नरोकिने भन्दै सूचना जारी गरेको थियो। उक्त सूचनाले अदालतको आदेशको व्याख्यालाई लिएर अन्योल सिर्जना गरेको थियो।

यसअघि न्यायाधीश टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले दिएको अन्तरिम आदेशमा कसैलाई पनि सम्पत्ति विवरण पेस गर्न बाध्य नपार्ने, छानबिन अघि नबढाउने तथा कानुनी कारबाहीका लागि सिफारिस नगर्ने उल्लेख थियो। तर आयोगले त्यसको फरक अर्थ लगाउँदै सूचना जारी गरेपछि पुनः अदालतको ध्यानाकर्षण भएको थियो।

नयाँ अन्तरिम आदेशमार्फत सर्वोच्चले आयोगको त्यस्तो सूचनाको कार्यान्वयनमा स्पष्ट रूपमा रोक लगाएको छ। अब आयोगले सम्पत्ति विवरण संकलन, छानबिन, प्रतिवेदन तयारी वा त्यससँग सम्बन्धित कुनै पनि प्रक्रिया अघि बढाउन पाउने छैन।

सर्वोच्चले यसअघि नै पूर्ण इजलासमा १५ दिनभित्र सुनुवाइ हुने गरी पेसी तोकेको छ। मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म आयोगका सम्पत्ति छानबिनसम्बन्धी सबै प्रक्रिया स्थगित रहने भएका छन्।

साथै, कुनै पनि व्यक्तिलाई सम्पत्ति विवरण पेस गर्न बाध्य पार्न वा त्यसका आधारमा कुनै कानुनी प्रक्रिया अघि बढाउन पनि नपाइने भएको छ।

पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि आकस्मिक एन्जियोप्लास्टी

काठमाडौं। बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि आकस्मिक एन्जियोप्लास्टी गरिएको छ। हाल उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।

अस्पतालका अनुसार बिहीबार बिहान छातीमा तीव्र दुखाइ भएपछि उनलाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो। प्रारम्भिक परीक्षणका क्रममा एक्युट मायोकार्डियल इन्फार्क्सन (हार्ट अट्याक) भएको पुष्टि भएपछि तत्काल एन्जियोप्लास्टी गरिएको हो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटुरोग विभाग प्रमुख डा. अशोक अधिकारीका अनुसार समयमै अस्पताल ल्याइएकाले आवश्यक उपचार तत्काल सम्भव भएको हो। शल्यक्रियामा डा. अशोक अधिकारी, डा. प्रबिन्द्र महर्जन र डा. आनन्द जिसीको टोली संलग्न रहेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार शाक्यको स्वास्थ्य अवस्थामाथि चिकित्सकहरूको निरन्तर निगरानी भइरहेको छ भने आवश्यक उपचार आईसीयूमै जारी रहेको छ।

एक महिलासहित तीन जनाको शव फेला

काठमाडौं । प्युठान र नवलपरासी पूर्वका छुट्टाछुट्टै स्थानमा एक महिलासहित तीन जना मृत अवस्थामा फेला परेका छन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार प्युठानको स्वर्गद्वारी नगरपालिका–८ पल्नोदमार निवासी ७० वर्षीय शोपबहादुर सुनार बिहीबार सोही क्षेत्रको टेकनटार चौरमा मृत अवस्थामा फेला परेका हुन्। उनको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यस्तै, नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–२ बोटेटोल नजिक नारायणी नदीको तटबन्धनमाथिको गोरेटो बाटोमा अन्दाजी ४० वर्षीय एक पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्। उनको नाम, थर र ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

त्यसैगरी, कावासोती नगरपालिका–१७ अमल्टारीस्थित गुन्द्रही ढकाहा सामुदायिक वनमा बुधबार फेला परेको वृद्धाको शव चितवनको भरतपुर महानगरपालिका–९ निवासी ७२ वर्षीया सुकमाया दराईको रहेको पुष्टि भएको छ।

प्रहरीले तीनै घटनाको मृत्युको कारण खुलाउन घटनास्थलको मुचुल्का, पोस्टमार्टम तथा अन्य प्रमाणका आधारमा अनुसन्धान जारी रहेको जनाएको छ।

कोशी प्रदेश सरकारबाट पनि बाहिरिँदै कांग्रेस

काठमाडौं। केन्द्रको निर्णयअनुसार नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट पनि बाहिरिने भएको छ। सुदूरपश्चिम प्रदेशमा एमालेसँगको सहकार्यमा उत्पन्न विवादपछि कांग्रेसले सातै प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै कोशीमा पनि सत्ता समीकरण बदलिने भएको हो।

कांग्रेसका चार मन्त्रीले आजै पदबाट राजीनामा दिने तयारी गरेका छन्। यसबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ।

हाल कोशी प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग, कृषि तथा सहकारी र पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्रीहरू सरकारमा छन्। पार्टीको निर्णयपछि उनीहरूले सामूहिक रूपमा पद त्याग्ने तयारी गरेका हुन्।

कोशी प्रदेशमा विगतदेखि कांग्रेसभित्र संस्थापन र इतर समूहबीच विभिन्न विषयमा मतभेद देखिँदै आएको भए पनि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट बाहिरिने विषयमा भने दुवै पक्ष एकमत भएका छन्।

कांग्रेस सरकारबाट बाहिरिएपछि कोशी प्रदेशको सत्ता समीकरण फेरिने निश्चित भएको छ। अब एमालेले नयाँ गठबन्धन बनाएर सरकारलाई निरन्तरता दिन्छ वा नयाँ राजनीतिक समीकरण बन्छ भन्ने विषय आगामी दलगत छलफल र प्रदेशसभाको अंकगणितमा निर्भर रहनेछ।

पाँच निकाय सचिवविहीन, पाँच सचिव जगेडामा

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले सचिवको दरबन्दी रहेका पाँच सरकारी निकायलाई नेतृत्वविहीन राख्दै पाँच सचिवलाई जगेडा (अतिरिक्त समूह) मा राखेको पाइएको छ। यसले कर्मचारी व्यवस्थापनको प्रभावकारिता र प्रशासनिक निर्णय प्रक्रियामाथि प्रश्न उठाएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेब पोर्टलअनुसार न्याय परिषद् सचिवालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, महालेखा नियन्त्रक कार्यालय, नेपाल ट्रस्टको कार्यालय र निर्वाचन आयोग सचिवविहीन छन्। यी निकायमा सचिवको दरबन्दी रहे पनि हालसम्म पदपूर्ति गरिएको छैन।

यता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको अतिरिक्त (जगेडा) समूहमा भने डा. गोविन्द शर्मा, लोकनाथ पौड्याल, राधिका अर्याल, हरिप्रसाद मैनाली र डुण्डुराज घिमिरे गरी पाँच सचिव कुनै कार्य जिम्मेवारीबिनै राखिएका छन्।

जगेडामा रहेका सचिवमध्ये डुण्डुराज घिमिरे भने भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि हाल निलम्बनमा छन्।

एकातिर महत्त्वपूर्ण सरकारी निकायहरू सचिवविहीन हुँदा निर्णय प्रक्रिया र प्रशासनिक काम प्रभावित हुने अवस्था रहेको छ भने अर्कोतर्फ कार्य जिम्मेवारी दिन सकिने सचिवहरू जगेडामा राखिएको विषयले सरकारको कर्मचारी व्यवस्थापन र जनशक्ति उपयोगको शैलीमाथि प्रश्न उठाएको छ।

प्रशासनिक वृत्तमा आवश्यक दरबन्दीमा तत्काल पदस्थापन नगरी सचिवहरूलाई लामो समय जिम्मेवारीविहीन राख्ने अभ्यासले सुशासन र सेवा प्रवाहमा समेत असर पर्ने टिप्पणी भइरहेको छ।

लुम्बिनीबाट कांग्रेस बाहिरिँदै

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकारको राजनीतिक समीकरण पनि फेरिने भएको छ।

केन्द्रको निर्णय कार्यान्वयन गर्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिन र आफ्ना मन्त्रीहरूलाई राजीनामा गराउने तयारी थालेको छ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारमा सहभागी पाँच मन्त्री, प्रमुख सचेतक र सचेतकलाई दाङमा बैठकका लागि बोलाएका छन्। बैठकले समर्थन फिर्ता र मन्त्रीहरूको राजीनामाबारे औपचारिक निर्णय गर्ने जनाइएको छ।

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन्।

सामाजिक विकास मन्त्री तिमिल्सेनाका अनुसार मुख्यमन्त्री चेतनारायण आचार्यले केन्द्रमा एमाले–कांग्रेसबीच पुनः सहमति हुन सक्ने सम्भावना रहेको भन्दै तत्काल राजीनामा नदिन आग्रह गरेका छन्। तर पार्टीको औपचारिक निर्णय आएलगत्तै आफूहरू पद त्याग्न तयार रहेको उनले बताएका छन्।

उता नेकपाले भने कांग्रेस बाहिरिएपछि प्रदेश सरकारको शक्ति सन्तुलन आफ्नो पक्षमा आउने संकेत गरेको छ। पार्टीका प्रमुख सचेतक इन्द्रजित चौधरीले कांग्रेसले समर्थन फिर्ता लिए सरकार अल्पमतमा पर्ने र त्यसपछि नयाँ सरकार गठनमा नेकपा निर्णायक शक्ति बन्ने दाबी गरेका छन्। उनले पार्टी केन्द्रमा वामपन्थी सहकार्यबारे छलफल भइरहेकाले एमालेसँग सहकार्यको सम्भावना बढी रहेको बताए।

सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले भने एमाले नेतृत्वको सरकार कायम रहने विश्वास व्यक्त गरेका छन्। कांग्रेसले औपचारिक रूपमा समर्थन फिर्ता लिएपछि मात्रै नयाँ राजनीतिक विकल्पबारे निर्णय गरिने उनको भनाइ छ।

अंकगणित कसको पक्षमा?

लुम्बिनी प्रदेशसभामा हाल ८३ सदस्य छन्। एमालेसँग २९ र नेकपासँग १३ (सभामुखसहित) सांसद छन्। दुवै दल एक ठाउँमा उभिए ४२ सांसद पुग्ने भएकाले बहुमतको आधार तयार हुन्छ। स्वतन्त्र सांसदको समर्थन पनि प्राप्त हुने विश्वास उनीहरूले गरेका छन्।

यता कांग्रेसका २७ सांसद र माओवादी केन्द्रसहितको समीकरण बने पनि संख्या ४० मा सीमित हुने देखिन्छ। त्यसैले कांग्रेस सरकारबाट बाहिरिएपछि लुम्बिनीमा एमाले–नेकपा समीकरणको सम्भावना बलियो देखिएको छ।

यसअघि २०८१ साउनमा मुख्यमन्त्री चेतनारायण आचार्य नियुक्त हुँदा एमाले र कांग्रेसबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। तर केन्द्रमा दुई दलबीच सहकार्य अन्त्य गर्ने निर्णयसँगै त्यो सहमति पनि व्यवहारतः समाप्त हुने अवस्थामा पुगेको छ। अब लुम्बिनी प्रदेशको सत्ता समीकरण कुन दिशामा मोडिन्छ भन्ने टुंगो कांग्रेसको औपचारिक निर्णय र त्यसपछि हुने दलगत छलफलले लगाउनेछ।

मोटरसाइकलमा शव बोकेर भाग्दै गरेका भारतीय नागरिक पक्राउ

काठमाडौं। सप्तरीमा १४ वर्षीय किशोरको शव मोटरसाइकलमा राखेर भाग्दै गरेका एक भारतीय नागरिक पक्राउ परेका छन्। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार छन्।

दुर्घटनापछि शव लुकाउने प्रयास भएको हो वा योजनाबद्ध हत्या, भन्ने विषयमा प्रहरीले गहन अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजार क्षेत्रमा १४ वर्षीय मोहम्मद सादिकको मृत्यु भएपछि उनको शव मोटरसाइकलमा राखेर घटनास्थलबाट भाग्ने प्रयास गरिएको थियो। मृतक शम्भुनाथ–५ मोहनपुर निवासी मोहम्मद सदामाका एक्ला छोरा हुन्।

प्रहरीका अनुसार बीआर–३२ बी–९७६४ नम्बरको भारतीय अपाचे मोटरसाइकलमा दुई जना सवार थिए। प्रहरी चौकी बिसनपुरबाट प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा खटिएको टोलीले शंकास्पद गतिविधि देखेपछि मोटरसाइकल पछ्याएको थियो।

भाग्ने क्रममा उनीहरूले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर टाढा खडक नगरपालिका–१ स्थित दिनाभद्री थान क्षेत्रनजिक शव फालेर फरार हुन खोजेका थिए। स्थानीयवासीको सहयोगमा भारतको मधुवनी जिल्ला, खतौनी पिपराही निवासी २८ वर्षीय मो. सादर नटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनका अर्का साथी भने फरार छन् र खोजी भइरहेको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका नट बोदेबरसाईन नगरपालिका–५ स्थित सोनु मिट हाउसमा काम गर्ने मजदुर हुन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार घटना सामान्य सडक दुर्घटना हो वा हत्या गरेर शव लुकाउने प्रयास गरिएको हो भन्ने विषयमा सबै पक्षबाट अनुसन्धान भइरहेको छ। पोस्टमार्टम रिपोर्ट, घटनास्थलको प्रमाण र फरार व्यक्तिको बयानपछि मात्रै घटनाको वास्तविकता स्पष्ट हुने उनले बताए।

घटनापछि स्थानीयवासी र मृतकका आफन्त आक्रोशित बनेका थिए। बिहीबार बिहान उनीहरूले पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका–६ कठौनामा करिब ३० मिनेट सडक अवरुद्ध गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका थिए।

प्रहरीले फरार व्यक्तिको खोजी तीव्र बनाएको जनाएको छ भने घटनाको प्रकृति र मृत्युको वास्तविक कारणबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

भिषण वर्षा : असमका ९९ गाउँ डुबानमा

एजेन्सी। भारतका विभिन्न राज्यमा लगातारको भारी वर्षापछि बाढी र पहिरोको प्रकोप बढ्दै गएको छ।

उत्तर प्रदेश, बिहार, अरुणाचल प्रदेश, असम र ओडिशासहितका राज्यमा जनजीवन प्रभावित भएको छ भने हजारौं मानिस विस्थापित भएका छन्। पूर्वी नेपालमा पनि निरन्तर वर्षा भइरहेकाले सीमावर्ती क्षेत्रमा बाढीको जोखिम बढेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशका १० र बिहारका ८ जिल्लामा मुसलधारे वर्षा भइरहेको छ। उत्तर प्रदेशका हरदोई, लखनऊ, रायबरेली, सीतापुर, उन्नावलगायत ३६ जिल्लामा भारी वर्षाको चेतावनी (अलर्ट) जारी गरिएको छ। निरन्तर वर्षाका कारण नदीको जलस्तर बढ्न थालेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

उत्तर–पूर्वी राज्य अरुणाचल प्रदेशमा पछिल्लो २४ घण्टाभित्र बाढी, पहिरो र अविरल वर्षाले ठूलो क्षति पुर्‍याएको छ। त्यहाँ १ लाख २ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। हालसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २९ जना घाइते भएका छन्। पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा समेत कठिनाइ भइरहेको बताइएको छ।

यस्तै, असमका ६ जिल्लाका ९९ गाउँ बाढीले डुबानमा परेका छन्। सरकारी विवरणअनुसार ३७ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। नदीहरूमा पानीको सतह बढ्दै जाँदा थप क्षेत्र डुबानमा पर्न सक्ने भन्दै स्थानीय प्रशासनले निगरानी बढाएको छ।

ओडिशाको पुरी क्षेत्रमा पनि लगातार भारी वर्षा भइरहेको छ। मौसम विभागले आगामी केही दिनसम्म वर्षा जारी रहने सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

भारतसँगै पूर्वी नेपालमा पनि अविरल वर्षा भइरहेकाले कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। गएराति कोशी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेको थियो।

पानीको बहाव बढेसँगै ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ। सम्बन्धित निकायले पूर्वी नेपालमा वर्षा निरन्तर जारी रहेमा नदीको बहाव अझ बढ्न सक्ने चेतावनी दिएका छन्।

नेपाल–भारत सीमावर्ती क्षेत्रका लागि महत्त्वपूर्ण संरचना मानिने कोशी ब्यारेजमा जलस्तर बढेपछि दुवै देशका नदी तटीय बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसमविद्हरूले आगामी केही दिनसम्म वर्षा जारी रहने सम्भावना रहेकाले नदी किनार र डुबान जोखिम भएका क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको बताएका छन्।

महिला उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले बिहिवार महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग उद्योग, उद्यमशीलता र महिलाको आर्थिक सशक्तीकरणका विषयमा विशेष छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा महिला उद्यमशीलता प्रवर्द्धन, उद्योग व्यवसाय सञ्चालनमा देखिएका चुनौती, नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा उद्योग क्षेत्रमा महिलाको सहभागिता बढाउने उपायबारे विस्तृत संवाद हुने जनाइएको छ।

महिला उद्यमीहरूले व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या, वित्तीय पहुँच, सीप विकास, बजार विस्तार, कर तथा नियामकीय सुधारलगायत विषयमा आफ्ना सुझाव सरकारसमक्ष प्रस्तुत गर्ने तयारी गरेका छन्। साथै, महिला नेतृत्वको व्यवसायलाई प्रतिस्पर्धी बनाउन आवश्यक नीतिगत सहजीकरणका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण साझेदारका रूपमा अघि बढाउने नीति लिँदै विभिन्न व्यवसायिक तथा निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै आएका छन्। सोही क्रममा महिला उद्यमीहरूसँगको यो भेटलाई पनि सरकार–निजी क्षेत्र सहकार्यको अर्को महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।

बैठकमा महिला उद्यमी महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुने कार्यक्रम छ।

पाकिस्तानी युवती समनको जबरजस्ती विहे र परिवारबाटै हत्या प्रकरण

काठमाडौं। इटालीको सर्वोच्च अदालतले पाँच वर्षअघि जबरजस्ती विवाह गर्न अस्वीकार गरेकी पाकिस्तानी मूलकी १८ वर्षीया युवती समन अब्बासको हत्या प्रकरणमा अन्तिम फैसला सुनाउँदै उनका पाँच जना आफन्तलाई दोषी ठहर गरेको छ।

सर्वोच्च अपिल अदालत सुप्रिम कोर्ट अफ क्यासेसनले यसअघि तल्लो अदालतले सुनाएको सजायलाई यथावत् राख्दै यो बहुचर्चित मुद्दाको कानुनी टुंगो लगाएको हो।

इटालीमा बसोबास गर्दै आएकी समन अब्बासको सन् २०२१ मा परिवारकै सदस्यले हत्या गरेको अभियोजन पक्षको दाबीलाई सर्वोच्च अदालतले स्वीकार गरेको छ। समनले पाकिस्तानमा आफन्तसँग गराउन खोजिएको जबरजस्ती विवाह अस्वीकार गरेकी थिइन्। अदालतका अनुसार यही कारणले उनलाई योजनाबद्ध रूपमा हत्या गरिएको थियो।

अदालतले समनका बुबा शब्बर अब्बास, आमा नाजिया शाहिन, काका छोराहरू इजाज इकराम र नोमानुल हकलाई आजीवन कारावासको सजाय यथावत् राखेको छ। त्यस्तै, घटनामा संलग्न ठहरिएका उनका काका दानिश हसनैनलाई यसअघि सुनाइएको २२ वर्षको कैद सजाय पनि कायम गरिएको छ।

समन अब्बास सन् २०१६ मा आफ्नो परिवारसँगै पाकिस्तानबाट इटालीको उत्तरी सहर नोभेलारा बसाइँ सरेकी थिइन्। किशोरावस्थामै उनले इटालीमा पढाइ अघि बढाइन् र त्यहीँ पाकिस्तानी मूलकै एक युवकसँग प्रेम सम्बन्धमा रहिन्।

उनका आमाबुबाले भने उनलाई पाकिस्तान फर्काएर आफ्नै काकाका छोरासँग विवाह गराउने योजना बनाएका थिए। समनले यो विवाह गर्न स्पष्ट अस्वीकार गरिन्। उनले आफू आफ्नो जीवनबारे आफैं निर्णय गर्न चाहेको बताएकी थिइन्।

परिवारसँगको विवाद चर्किएपछि उनले इटालीको सामाजिक सेवा विभागसँग सहयोग मागेकी थिइन्। सन् २०२० को नोभेम्बरमा उनलाई सरकारी संरक्षणमा रहेको आश्रयस्थलमा राखिएको थियो। उनले आफ्नै आमा-बुबाविरुद्ध प्रहरीमा उजुरी पनि दिएकी थिइन्।

तर, परिवारले पटक-पटक सम्पर्क गरी विश्वास दिलाएपछि अप्रिल २०२१ मा उनी पुनः घर फर्किइन्। यही निर्णय उनको जीवनको अन्तिम निर्णय सावित भयो।

घर फर्किएको केही दिनपछि समन अचानक सम्पर्कविहीन भइन्। ५ मे २०२१ मा प्रहरी उनको घर पुग्दा परिवारका सदस्यहरू त्यहाँ थिएनन्। अनुसन्धानका क्रममा उनका आमा-बुबा पाकिस्तान भागिसकेको खुल्यो।

प्रहरीले घर नजिकैको सीसीटीभी फुटेजको अध्ययन गर्दा २९ अप्रिल २०२१ मा पाँच जना व्यक्ति घरबाट फरुवा, फलामको रड र बाल्टी बोकेर बाहिर गएको र करिब साढे दुई घण्टापछि फर्किएको दृश्य फेला पारेको थियो। यही दृश्य अनुसन्धानको सबैभन्दा महत्वपूर्ण प्रमाण बन्यो।

त्यसपछि अनुसन्धानकर्ताहरूले घटनालाई हत्या भएको निष्कर्षतर्फ अघि बढाए।

समन बेपत्ता भएको करिब १८ महिनापछि, नोभेम्बर २०२२ मा उनका काका दानिश हसनैनले दिएको सूचनाका आधारमा प्रहरीले परिवारको घर नजिकै रहेको एउटा फार्महाउस क्षेत्रमा जमिनमुनि गाडिएको शव फेला पारेको थियो।

पोस्टमार्टम रिपोर्टले समनको घाँटीको हड्डी भाँचिएको देखाएको थियो। अनुसन्धानकर्ताहरूका अनुसार उनको घाँटी थिचेर हत्या गरिएको सम्भावना बलियो देखिएको थियो।

शव फेला परेपछि अनुसन्धानले निर्णायक मोड लिएको थियो।

हत्यापछि समनका आमा-बुबा पाकिस्तान भागेका थिए। उनका काका दानिश हसनैन फ्रान्स पुगेका थिए भने अन्य आफन्तहरू पनि फरार भएका थिए।

दानिश हसनैनलाई सन् २०२१ मा फ्रान्सको पेरिसबाट पक्राउ गरिएको थियो। शब्बर अब्बासलाई पाकिस्तानमा पक्राउ गरी अगस्ट २०२३ मा इटाली प्रत्यर्पण गरिएको थियो। आमा नाजिया शाहिनलाई पनि पछि पक्राउ गरी मुद्दाको प्रक्रियामा ल्याइएको थियो।

सुनुवाइका क्रममा शब्बर अब्बासले आफूले छोरीको हत्या गर्ने कल्पना पनि नगरेको दाबी गरे। तर अदालतले सीसीटीभी फुटेज, डिजिटल प्रमाण, पोस्टमार्टम रिपोर्ट तथा अन्य अनुसन्धानलाई पर्याप्त प्रमाण मानेर दोषी ठहर गरेको हो।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै यसलाई “लामो र पीडादायी न्यायिक प्रक्रियाको अन्त्य” भएको बताएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत समनले आफ्नो भविष्य आफैं रोज्ने अधिकार खोजेकै कारण ज्यान गुमाउनुपरेको उल्लेख गर्दै महिलाको स्वतन्त्रता र जीवनको अधिकार कुनै पनि सांस्कृतिक वा धार्मिक कारणका नाममा खोस्न नसकिने स्पष्ट पारेकी छन्।

उनका अनुसार इटालीमा महिलामाथि हुने यस्ता हिंसात्मक अपराधका लागि कुनै सहिष्णुता हुन सक्दैन।

समन अब्बासको हत्या इटालीमा पछिल्ला वर्षहरूको सबैभन्दा चर्चित ‘इज्जतको नाममा हत्या’को घटनामध्ये एक मानिन्छ।

यो घटनाले जबरजस्ती विवाह, आप्रवासी समुदायभित्र हुने लैङ्गिक हिंसा, महिला अधिकार, किशोरीहरूको स्वतन्त्रता तथा सांस्कृतिक परम्पराका नाममा हुने अपराधबारे राष्ट्रिय बहस सुरु गराएको थियो।

मानवअधिकारकर्मीहरूले यो फैसला महिलाको स्वतन्त्र निर्णय गर्ने अधिकारको संरक्षणका लागि महत्वपूर्ण कानुनी नजिर भएको बताएका छन्।

सर्वोच्च अदालतको अन्तिम फैसलासँगै समन अब्बास हत्या प्रकरण कानुनी रूपमा टुंगोमा पुगेको छ।

रसुवागढी नाकाबाट ६,५०० बढी ईभी भित्रिए, १५ अर्ब राजस्व

काठमाडौं। चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी (टिमुरे) भन्सारबाट आर्थिक वर्ष २०८२/८३ मा विद्युतीय सवारीसाधन (ईभी) आयात उल्लेख्य रूपमा बढेको छ। नेपाली बजारमा ईभीको माग तीव्र बनेसँगै यस नाकाबाट हुने आयात र त्यसबापत उठ्ने राजश्व दुवैमा उल्लेखनीय वृद्धि भएको हो।

रसुवा भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६ हजार ५०० भन्दा बढी साना तथा ठूला विद्युतीय सवारी नेपाल भित्रिएका छन्। आयात भएका सवारीमा विद्युतीय कार, जीप, भ्यान तथा मिनीबस प्रमुख छन्। यी सवारी चीनका विभिन्न सहरबाट केरुङ हुँदै नेपाल ल्याइएका हुन्।

ईभी आयात बढेसँगै रसुवा भन्सारको राजश्व संकलन पनि ऐतिहासिक रूपमा बढेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा विद्युतीय सवारीको जाँचपास तथा भन्सार महसुलबाट मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी राजश्व उठेको छ। कुल राजश्व संकलनमध्ये ६० प्रतिशतभन्दा बढी हिस्सा ईभीबाट प्राप्त भएको जनाइएको छ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विद्युतीय सवारीमा लाग्ने करका दरमा केही परिमार्जन गरे पनि चिनियाँ ब्रान्डका ईभीप्रतिको आकर्षण घटेन। BYD, Deepal, GWM, Seres र Zeekr लगायतका ब्रान्ड नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन्। इन्धनबाट चल्ने सवारीको तुलनामा सञ्चालन खर्च कम, वातावरणमैत्री प्रविधि र आधुनिक सुविधाका कारण उपभोक्ताको रोजाइ ईभीतर्फ बढेको हो।

भन्सार अधिकारीहरूका अनुसार पछिल्लो समय रसुवागढी नाका विद्युतीय सवारी आयातको मुख्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। दैनिक रूपमा आउने अधिकांश मालवाहक ट्रकमा ईभी नै रहने गरेका छन्। चिनियाँ पक्षको सडक पूर्वाधार सुधार, प्रविधिमैत्री जाँचपास प्रणाली र भन्सार प्रक्रियामा सहजताले आयात बढाउन सहयोग पुगेको उनीहरूको भनाइ छ।

यद्यपि, गत आर्थिक वर्ष ईभी आयातसँगै प्रशासनिक विवाद पनि चर्चामा रह्यो। बजेट घोषणाअघि केही व्यापारी र भन्सार कर्मचारीको मिलेमतोमा नाकामा आइपुग्न बाँकी करिब २०० ईभीको नियमविपरीत पूर्व–जाँचपास गराउन खोजिएको कैफियत भेटिएको थियो। त्यसपछि अर्थ मन्त्रालय र भन्सार विभागको निर्देशनमा तत्कालीन प्रमुख भन्सार अधिकृतसहित १३ जना कर्मचारी निलम्बन भई विभागीय कारबाही अघि बढाइएको थियो।

त्यसयता नयाँ नेतृत्वमार्फत जाँचपास प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाइएको कार्यालयले जनाएको छ।

तस्वीरहरू:

Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुनको मूल्य बढ्यो,चाँदी सस्तियो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर २ लाख ८५ हजार २०० रुपैयाँ पुगेको छ।

यता, चाँदीको मूल्य भने प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ३२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

बुधबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ र चाँदी ४ हजार ४१५ रुपैयाँ मा कारोबार भएको थियो।

यससँगै अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा दैनिक उतारचढाव जारी रहेको छ।

टमाटर किसानको आन्दोलनपछि उपत्यका बाहिर ढुवानी सुरू

काठमाडौं। काठमाडौं उपत्यकासहित आसपासका जिल्लाका किसानहरूले उत्पादन गरेको टमाटरले बजार नपाएपछि उनीहरू सडक आन्दोलनमा उत्रिएका छन्।

उत्पादन लागतसमेत उठाउन नसक्ने गरी मूल्य घटेपछि किसानहरूले माइतीघर मण्डलामा टमाटर सडकमै फालेर सरकारको ध्यानाकर्षण गराएका हुन्।

किसानहरूका अनुसार समस्या उत्पादनमा होइन, बजार व्यवस्थापनमा छ। बारीमा राम्रै उत्पादन भए पनि भारतबाट ठूलो परिमाणमा सस्तो टमाटर आयात भइरहँदा नेपाली उत्पादनले बजार गुमाएको उनीहरूको भनाइ छ। आयातित टमाटर कम मूल्यमा बजारमा उपलब्ध भएपछि स्थानीय उत्पादन बिक्री हुन छाडेको छ। परिणामस्वरूप किसानले उत्पादन बारीमै कुहिन दिनुपर्ने, कम मूल्यमा बेच्नुपर्ने वा सडकमै फाल्नुपर्ने अवस्था आएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बुधबारको मूल्य सूचीले किसानको गुनासोलाई थप पुष्टि गरेको छ। समितिका अनुसार ठूलो नेपाली गोलभेँडाको थोक मूल्य प्रतिकेजी ३५ रुपैयाँ कायम भएको छ भने सानो स्थानीय गोलभेँडाको मूल्य ८ रुपैयाँ र टनेल प्रविधिबाट उत्पादन गरिएको सानो गोलभेँडाको मूल्य १३ रुपैयाँ मात्रै रहेको छ।

विस्तृत विवरणअनुसार सानो स्थानीय टमाटरको औसत थोक मूल्य प्रतिकेजी ९ रुपैयाँ ५० पैसा र टनेलमा उत्पादन गरिएको टमाटरको औसत मूल्य १४ रुपैयाँ ६० पैसा छ। ठूलो नेपाली टमाटरको औसत मूल्य ३८ रुपैयाँ ७५ पैसा भए पनि किसानहरूका अनुसार बीउ, मल, विषादी, सिँचाइ, श्रम र ढुवानी खर्च जोड्दा यस्तो मूल्यले उत्पादन लागतसमेत नउठ्ने अवस्था छ।

उपभोक्ताले खुद्रा बजारमा अपेक्षाकृत बढी मूल्य तिरे पनि त्यसको प्रत्यक्ष लाभ किसानसम्म नपुग्ने र बीचको आपूर्ति शृङ्खलाले ठूलो हिस्सा लिने गरेको किसानहरूको आरोप छ।

कृषि क्षेत्रका जानकारहरूका अनुसार टमाटरको मूल्य घट्नुका पछाडि एकभन्दा बढी कारण छन्। मनसुनसँगै उत्पादन बढ्नु, बजार व्यवस्थापन कमजोर हुनु, पर्याप्त चिस्यान भण्डारण (कोल्ड स्टोर) नहुनु, प्रशोधन उद्योगको अभाव र भारतबाट निरन्तर आयात भइरहनु मुख्य कारण मानिन्छ।

विशेषगरी भारतमा उत्पादन बढी हुँदा सस्तो मूल्यमा नेपाल भित्रिने टमाटरले स्थानीय उत्पादनलाई प्रतिस्पर्धा गर्न कठिन बनाएको किसानहरूको भनाइ छ। उनीहरू सरकारले आवश्यक परे मौसमी रूपमा आयात व्यवस्थापन गर्नुपर्ने माग गरिरहेका छन्।

उचित मूल्यको माग गर्दै किसानहरूले बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे। उनीहरूले टमाटर सडकमा फाल्दै सरकारको कृषि नीतिप्रति असन्तुष्टि व्यक्त गरे।

प्रदर्शनपछि कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर छलफल गरेकी थिइन्। छलफलमा किसानहरूले उत्पादनको न्यूनतम मूल्य सुनिश्चित गर्न, बिचौलियाको प्रभाव घटाउन, सहज बजार पहुँच उपलब्ध गराउन र आयात व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग माग गरेका थिए।

मन्त्री चौधरीले किसानका मागप्रति मन्त्रालय गम्भीर रहेको बताउँदै बजार व्यवस्थापन सुधार गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिएकी छन्।

किसानको उत्पादन खेर जान नदिन कृषि मन्त्रालय र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको समन्वयमा बुधबारदेखि काठमाडौं उपत्यकाबाहिर टमाटर ढुवानी सुरु गरिएको छ।

उपत्यकाभन्दा बाहिर माग भएका बजारमा टमाटर पठाएर किसानले केही राहत पाउने अपेक्षा गरिएको छ। यद्यपि किसानहरूले यसलाई तत्कालीन समाधान मात्र भएको र दीर्घकालीन नीति आवश्यक रहेको बताएका छन्।

नेपालमा तरकारी उत्पादनको मौसममा मूल्य अत्यधिक घट्ने र उत्पादन कम हुँदा आयातमा निर्भर हुने समस्या नयाँ होइन। गोलभेँडा, काउली, बन्दा, आलु, प्याजलगायतका बालीमा पनि यस्तै अवस्था पटक–पटक दोहोरिँदै आएको छ।

विशेषज्ञहरूका अनुसार उत्पादन योजना, बजार पूर्वानुमान, प्रशोधन उद्योग, चिस्यान भण्डारण, ढुवानी प्रणाली र निर्यात बजारको विकास नगरी केवल उत्पादन बढाउनु मात्र पर्याप्त हुँदैन। उत्पादन बढे पनि बजारको सुनिश्चितता नहुँदा किसानले हरेक वर्ष घाटा व्यहोर्नुपर्ने अवस्था दोहोरिने उनीहरूको भनाइ छ।

किसान संगठनहरूले सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण, मौसमी आयात व्यवस्थापन, कृषि उपजको खरिद–बिक्रीमा सरकारी संयन्त्रको सक्रिय भूमिका, कोल्ड स्टोर विस्तार तथा प्रशोधन उद्योगको विकासमा ध्यान दिनुपर्ने बताएका छन्।

भारत-नेपाल ऊर्जा सहकार्य थप सुदृढ, जलविद्युत् र प्रसारण पूर्वाधारमा जोड

काठमाडौं । भारत र नेपालबीच ऊर्जा क्षेत्रको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३औँ बैठक पोखरामा सम्पन्न भएको छ।

भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीको सह-अध्यक्षतामा असार ३१ गते संयुक्त निर्देशक समिति (जेएससी) को बैठक बसेको हो।

त्यसअघि असार ३० गते भारत सरकारको विद्युत मन्त्रालयका सहसचिव (प्रसारण) पंकजकुमार र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको सह-अध्यक्षतामा संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३औँ बैठक सम्पन्न भएको थियो।

बैठकमा जलविद्युत् आयोजना विकास, सीमापार विद्युत व्यापार तथा प्रसारण पूर्वाधार विस्तारलगायत भारत-नेपाल ऊर्जा सहकार्यका विविध पक्षको विस्तृत समीक्षा गरिएको छ।

दुवै पक्षले ४०० केभी गोरखपुर-न्यू बुटवल अन्तरदेशीय प्रसारण लाइनसहित नयाँ प्रसारण संरचना निर्माणमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै निर्माणाधीन तथा प्रस्तावित विद्युत उत्पादन र प्रसारण आयोजनाको कार्यान्वयनलाई तीव्र बनाउने विषयमा छलफल गरेका छन्।

त्यसैगरी, भारतीय र नेपाली विद्युत ग्रिडको समन्वयात्मक सञ्चालन, सौर्य ऊर्जा परियोजनाको विकास, हरित हाइड्रोजन (ग्रीन हाइड्रोजन) मा सहकार्य विस्तार तथा नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिसम्बन्धी विषयमा पनि सहमति भएको छ।

जेएससी बैठकअघि भारतका विद्युत सचिव पंकज अग्रवालले असार ३० गते नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेटवार्ता गरेका थिए।

बैठकका निष्कर्षले नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा विकसित हुँदै गएको रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने तथा जलविद्युत् विकास, विद्युत व्यापार र ऊर्जा सुरक्षामा द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

रास्वपाभित्रको रडाको

काठमाडौं। भारी जनमतसहित सरकारको नेतृत्वमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक सय दिन नाघ्दै गर्दा बाह्यभन्दा बढी आन्तरिक दबाबको सामना गरिरहेको छ।

संसदमा करिब दुईतिहाइ नजिकको बहुमत रहेकाले सरकार ढाल्ने अवस्था विपक्षीसँग छैन। तर पछिल्ला घटनाक्रमले सरकारलाई चुनौती विपक्षी दलबाट भन्दा आफ्नै पार्टीभित्रबाट बढ्न थालेको छ।

निर्वाचनअघि पुराना दलले गर्न नसकेको काम आफूले गरेर देखाउने प्रतिबद्धतासहित आएको रास्वपाले सरकार गठनपछि सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेको थियो।

बलियो संसदीय समर्थनका कारण सरकारले नीतिगत सुधार र प्रशासनिक परिवर्तनका लागि पर्याप्त अवसर पाएको मानियो, तर सरकारका पछिल्ला निर्णय र कार्यशैलीलाई लिएर पार्टीभित्रै असन्तुष्टि बढ्दै गएको देखिएको छ।

पछिल्ला केही सातादेखि रास्वपाका सांसदहरूले संसददेखि सामाजिक सञ्जालसम्म सरकारको कार्यसम्पादनमाथि खुलेर प्रश्न उठाउन थालेका छन्। यसअघि विपक्षी दलले गर्ने आलोचना अहिले सत्तारूढ दलभित्रकै सांसदबाट हुन थालेपछि राजनीतिक वृत्तमा यसलाई असामान्य रूपमा हेरिएको छ।

विशेषगरी सुकुम्बासी व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, संवेदनशील घटनाप्रतिको सरकारी प्रतिक्रिया तथा केही प्रशासनिक निर्णयलाई लिएर पार्टीभित्र फरक मत सार्वजनिक हुन थालेको छ। सरकारको काम गर्ने शैली जनअपेक्षाअनुसार अघि बढ्न नसकेको भन्दै कतिपय सांसदले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्।

यही बढ्दो असन्तुष्टिबीच पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच छुट्टै छलफल भएको थियो। स्रोतहरूका अनुसार छलफलमा सरकारको कार्यसम्पादन, जनस्तरमा देखिएको असन्तुष्टि र त्यसलाई सुधार गर्ने उपायबारे विस्तृत समीक्षा भयो।

छलफलपछि सभापति लामिछानेले सरकारलाई जनताको समस्या समाधानमा अझ प्रभावकारी बन्नुपर्ने सुझाव दिएको बताएका थिए। विशेषगरी सुकुम्बासी व्यवस्थापनका क्रममा नागरिकले अनावश्यक दुःख पाउन नहुने र राज्यको निर्णय कार्यान्वयन गर्दा मानवीय पक्षलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा आफूले प्रधानमन्त्रीसँग कुरा गरेको उनको भनाइ थियो।

यद्यपि छलफल केवल सरकारी कामकारबाहीमा सीमित नरहेको बताइन्छ। पार्टी संगठन, महाधिवेशनपछि बाँकी रहेका संरचनागत काम र नेतृत्वबीचको समन्वयका विषय पनि छलफलमा उठेका थिए। यसले सरकार र पार्टी सञ्चालनबीच देखिएको असन्तुलनलाई समेत उजागर गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

रास्वपाको पहिलो महाधिवेशन सम्पन्न भएपछि पार्टीभित्र फरक धारका आवाज थप मुखर हुन थालेका छन्। महाधिवेशनअघि सार्वजनिक रूपमा कम देखिएको असन्तुष्टि अहिले सरकारका निर्णयसँग जोडिएर प्रकट भइरहेको छ। पार्टीका केही सांसद र नेताले सरकारलाई सुधारको आवश्यकता रहेको बताइरहेका छन् भने अर्का पक्षले सरकारलाई काम गर्ने समय दिनुपर्ने धारणा राखिरहेको छ।

रास्वपाको सबैभन्दा ठूलो चुनौती अहिले विपक्षी दलभन्दा आफ्नै पार्टीभित्र देखिएको छ।

संसदीय अंकगणितले सरकार सुरक्षित देखिए पनि जनअपेक्षा र आन्तरिक असन्तुष्टिको व्यवस्थापन गर्न नसके आगामी दिनमा सरकारमाथिको दबाब अझ बढ्न सक्ने संकेत देखिएको छ।

युवतिको मलद्वारमा लुकाएर लागूऔषध भित्र्याउन खोज्ने युवक-युवती पक्राउ

काठमाडौं। भारतबाट नेपालतर्फ लागूऔषध तस्करी गर्न खोजेको आरोपमा एक युवक र एक युवती पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई मोरङको रंगेली नगरपालिका–६ स्थित पुरानो भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–१ का २३ वर्षीय सम्योक वानेम फागो र २० वर्षीया भूमिका फागो रहेका छन्। उनीहरू हाल मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा बस्दै आएका थिए।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका उनीहरूलाई शंकास्पद अवस्थामा रोकी जाँच गरेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले शरीरको संवेदनशील भाग अर्थात् मलद्वारमा लुकाएर लागूऔषध नेपाल भित्र्याउन प्रयास गरेको खुलेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ भने बरामद लागूऔषधको प्रकार र परिमाणबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

मृत्यु दर्ता प्रमाणपत्र र आर्थिक सहायता घरमै पुर्‍याउने वडाध्यक्ष मनाेज

काठमाडाैं । झापाको शिवसताक्षी नगरपालिका-६ ले मृत्यु भएको १३ दिनभित्र मृतकका परिवारलाई घरमै पुगेर मृतककाे मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराउँदै आएको छ ।

साथै, शोकाकुल परिवारलाई राहतस्वरूप ४ हजार ५ सय रुपैयाँ आर्थिक सहायता तथा वडा कार्यालयको तर्फबाट समवेदना पत्र पनि प्रदान गरिन्छ।

वडाध्यक्ष मनोज खुलाल कार्कीका अनुसार जनतालाई जनप्रतिनिधिको अनुभूति गराउन, स्थानीय सरकारप्रति विश्वास बढाउन र दुःखको घडीमा परिवारप्रति सहानुभूति प्रकट गर्न यस्ताे सेवा सञ्चालन गरिएको हो।

दोस्रो कार्यकाल वडाध्यक्ष भएका कार्कीले यो सेवा २०७४ सालदेखि निरन्तर सञ्चालन गरिँदै आएको जानकारी दिए।

विराट पोखरीको स्तरोन्नति गर्न कांग्रेस सांसद सुशिला ढकाल आचार्यको माग

काठमाडौं। नेपाली कांग्रेसकी सांसद सुशिला ढकाल आचार्यले झापाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको विराट पोखरीको स्तरोन्नति गर्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आचार्यले विराट राजाले निर्माण गरेको मानिने विराट पोखरी झापाको ऐतिहासिक पहिचानसँग जोडिएको सम्पदा भएकाले यसको संरक्षण र विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताइन्।

उनले विराट पोखरीलाई आधुनिक पार्क तथा सांस्कृतिक पार्कका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसले धार्मिक पर्यटन प्रवर्द्धनका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने धारणा राखिन्।

सांसद आचार्यले ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटन पूर्वाधार विस्तारमा लगानी बढाउन सरकारलाई आग्रह गर्दै विराट पोखरीलाई राष्ट्रिय महत्वको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक योजना अघि बढाउनुपर्नेमा जोड दिइन्।

विपक्षी दलहरुले दर्ता गराए सार्वजनिक जरुरी महत्वको प्रस्ताव

काठमाडौं। विपक्षी दलहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनलाई लिएर सरकारमाथि गम्भीर प्रश्न उठाउँदै प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको जरुरी प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरूले संयुक्त रूपमा दर्ता गरेको प्रस्तावमा सरकार संविधानले प्रत्याभूत गरेका मौलिक हक कार्यान्वयन गर्न असफल भएको आरोप लगाइएको छ।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ७१ बमोजिम दर्ता गरिएको उक्त प्रस्तावका प्रस्तावक नेपाली कांग्रेसका सांसद भिष्मराज आङ्देम्बे हुन्। प्रस्तावमा एमालेका तर्फबाट ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट युवराज दुलाल तथा श्रम संस्कृति पार्टीका तर्फबाट आरेन राईले समर्थन गरेका छन्।

प्रस्तावमा संविधानको धारा ३७ ले सुनिश्चित गरेको आवासको हक, धारा ३९ अन्तर्गत बालबालिकाको शिक्षा, स्वास्थ्य र उचित स्याहारको अधिकार, धारा ४० को उपधारा (५) र (६) मा उल्लेखित भूमिहीन दलित तथा आवासविहीन नागरिकप्रतिको राज्यको दायित्व तथा धारा ४१ ले व्यवस्था गरेको ज्येष्ठ नागरिकको विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार चुकेको उल्लेख गरिएको छ।

विपक्षी दलहरूले सरकारको पछिल्लो सुकुम्बासी व्यवस्थापन अभियानलाई कानुनी प्रक्रिया, मानवीय संवेदनशीलता र दीर्घकालीन पुनर्स्थापना योजनाविनाको कदम भएको आरोप लगाएका छन्। प्रस्तावमा २०८३ वैशाखमा काठमाडौं उपत्यकासहित देशका विभिन्न नदी किनार र सार्वजनिक जग्गामा रहेका बस्ती हटाउँदा पर्याप्त पूर्वतयारी, प्रभावित समुदायसँग परामर्श र वैकल्पिक आवासको व्यवस्था नगरिएको उल्लेख छ।

प्रस्तावमा सरकारी तथ्याङ्क उद्धृत गर्दै वैशाख १२ देखि २५ गतेसम्म २ हजार ६१६ घरधुरीका करिब ११ हजार १ जना विस्थापित भएको उल्लेख गरिएको छ। तीमध्ये धेरैलाई होटल, आश्रम, अपार्टमेन्ट तथा सरकारी तालिम केन्द्रमा अस्थायी रूपमा राखिएको भए पनि दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि स्थायी पुनर्स्थापना हुन नसकेको दाबी गरिएको छ।

विपक्षी सांसदहरूले होल्डिङ सेन्टरको अवस्थाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेका छन्। एउटै कोठामा पाँच परिवारसम्म राखिएको, स्वच्छ खानेपानी, पर्याप्त शौचालय, स्वास्थ्य सेवा, पौष्टिक भोजन तथा गोपनीयताको अभाव रहेको उनीहरूको आरोप छ। विशेषगरी गर्भवती, सुत्केरी, शिशु, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगी थप जोखिममा परेको प्रस्तावमा उल्लेख गरिएको छ।

सरकारले केही प्रभावित परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ राहत उपलब्ध गराए पनि कागजात तथा बैंक विवरण नमिलेका कारण धेरै परिवार राहतबाट वञ्चित भएको विपक्षीको भनाइ छ। राहत वितरणमा समस्या देखिएपछि कतिपय परिवारले खाना समेत नपाएको र होल्डिङ सेन्टर छाडेर आफन्त वा भाडाको कोठामा जान बाध्य भएको प्रस्तावमा उल्लेख गरिएको छ।

प्रस्तावमा कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर बाढीमा डुबेको घटनालाई पनि समेटिएको छ। उक्त घटनामा त्यहाँ आश्रय लिइरहेका १५४ जनामध्ये ५४ जनाको राति उद्धार गर्नुपरेको तथा बाढीका कारण लत्ताकपडा, नागरिकता, औषधि, बालबालिकाका पुस्तक तथा शैक्षिक सामग्री नष्ट भएको उल्लेख गरिएको छ। त्यसपछि खरिपाटी र बोडेमा सारिएका परिवारका बालबालिकाको विद्यालय आवतजावत र अध्ययनसमेत प्रभावित भएको विपक्षीको दाबी छ।

प्रस्तावमा विस्थापनले मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पारेको उल्लेख गरिएको छ। बल्खु बस्ती हटाइएपछि घर भत्किएको दृश्य सहन नसकेर निस्किएका ६१ वर्षीय इन्द्रबहादुर राई मृत फेला परेको तथा विस्थापनसँग जोडिएका आत्महत्या र शंकास्पद मृत्युका घटनाबारे स्वतन्त्र छानबिन हुनुपर्ने माग गरिएको छ।

विपक्षी दलहरूले राहत वितरण तथा होल्डिङ सेन्टर व्यवस्थापनमा अनधिकृत व्यक्तिको संलग्नताबारे पनि प्रश्न उठाएका छन्। गृह मन्त्रालयसँग सम्बन्धित तथा सत्तारूढ दल निकट व्यक्तिहरूलाई विशेष पहुँच दिइएको तर मानवअधिकारकर्मी र अभियन्तालाई प्रवेशमा रोक लगाइएको आरोप प्रस्तावमा समावेश गरिएको छ। यस्ता व्यक्तिहरूले कुन कानुनी अधिकारका आधारमा राहत, उद्धार र सुरक्षा व्यवस्थापनमा भूमिका खेले भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरिएको छ।

सर्वोच्च अदालतले उचित प्रक्रिया पूरा नगरी भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई हटाउन नपाइने र विस्थापितलाई आवास, शिक्षा, स्वास्थ्य तथा खाद्य सहायता सुनिश्चित गर्न दिएको अन्तरिम आदेश कार्यान्वयन गर्न पनि विपक्षीले सरकारसँग माग गरेको छ। साथै संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले बलपूर्वक निष्कासन रोक्न र प्रभावित समुदायसँग संवादमार्फत समाधान खोज्न दिएको सुझाव कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ।

विपक्षी दलहरूले सात बुँदे मागसमेत अघि सारेका छन्। उनीहरूले विस्थापित परिवारको एकीकृत तथ्याङ्क सात दिनभित्र सार्वजनिक गर्न, सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न, खाद्य, स्वास्थ्य र मनोसामाजिक सेवा सुनिश्चित गर्न, प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन, रोजगारी तथा जीविकोपार्जन पुनर्स्थापना गर्न, थप बस्ती भत्काउने कार्य तत्काल रोक्न तथा वास्तविक भूमिहीन र योग्य सुकुम्बासीलाई निश्चित समयसीमाभित्र लालपुर्जा वितरण गर्न सरकारसँग माग गरेका छन्।

विपक्षी दलहरूले भूमिहीन तथा सुकुम्बासीको समस्या कुनै एक दलको राजनीतिक मुद्दा नभई राष्ट्रिय दायित्व भएको उल्लेख गर्दै सरकार, सत्तापक्ष, प्रतिपक्ष, स्थानीय तह र प्रभावित समुदायबीच सहकार्यका आधारमा दीर्घकालीन, न्यायपूर्ण र मानवीय समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव:

‘प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ७१ बमोजिम देहायको जरुरी सार्वजनिक महत्त्वको विषयमाथि छलफल गर्न सूचना दिएको छु ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने, शिक्षा, स्वास्थ्य, खाद्य, सामाजिक सुरक्षा तथा उपयुक्त आवासको हक प्रदान गरेको छ। संविधानको धारा ३७ ले “प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ” भन्ने सुनिश्चितता गरेको छ। त्यसैगरी धारा ३९ ले बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र उचित स्याहारको हक, धारा ४० को उपधारा (५) र (६) ले भूमिहीन दलितलाई जमिन तथा आवासविहीन दलितलाई बसोबासको व्यवस्था गर्नुपर्ने राज्यको दायित्व र धारा ४१ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक प्रदान गरेको छ।

नदी करिडोरको संरक्षण, सार्वजनिक जग्गाको व्यवस्थापन तथा जोखिमयुक्त स्थानबाट नागरिकलाई सुरक्षित क्षेत्रमा सार्नु राज्यको दायित्व हो। तर त्यस्तो कार्य कानुन, न्यायिक प्रक्रिया, मानवीय मर्यादा, नागरिकको सहभागिता र सुरक्षित पुनर्स्थापनाको सुनिश्चितताबिना गर्न मिल्दैन। घरटहराको कानुनी हैसियत विवादित हुन सक्छ, तर त्यहाँ बस्ने नागरिकको मानवीय हैसियत र मौलिक अधिकार विवादित हुन सक्दैन।

सरकारले २०८३ वैशाखमा काठमाडौं उपत्यकासहित देशभरका नदी किनार तथा अन्य स्थानका भूमिहीन र सुकुम्बासी बस्तीमा पर्याप्त तयारी, परामर्श र दीर्घकालीन पुनर्स्थापना योजनाबिना डोजर चलायो। सरकारी तथ्याङ्कअनुसार वैशाख १२ देखि २५ गतेसम्म २ हजार ६१६ घरधुरीका ११ हजार १ जना विस्थापित भए र उनीहरूलाई होटल, आश्रम, अपार्टमेन्ट तथा सरकारी तालिम केन्द्रमा अस्थायी रूपमा राखियो। सात होल्डिङ सेन्टरमा प्रारम्भमा ३८८ परिवारका करिब १ हजार ४८८ जना आश्रित थिए। जिल्ला प्रशासनले १० देखि १५ दिनभित्र प्रमाणित भूमिहीनको उचित बसोबास मिलाउने बताए पनि दुई महिनाभन्दा बढी समयसम्म स्थायी पुनर्स्थापना हुन सकेन।

संसदीय अनुगमनले होल्डिङ सेन्टरमा एउटै कोठामा पाँच परिवारसम्म राखिएको, स्वच्छ पानी, पर्याप्त शौचालय, पौष्टिक खाना, औषधि र स्वास्थ्य सेवाको अभाव रहेको तथा गर्भवती, सुत्केरी, शिशु, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगी विशेष जोखिममा परेको देखाएको छ। सरकारले प्रत्येक परिवारलाई २५ हजार रुपैयाँ दिएर पाँच दिनभित्र केन्द्र खाली गर्न निर्देशन दिए पनि कागजात वा बैंक विवरण नमिलेका कतिपयले रकम पाएनन्, खाना रोकियो र केही परिवारलाई चोकमा छाडेर आफन्तको शरणमा जान बाध्य बनाइयो। बाढीबाट जोगाउन सारिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर नै डुब्दा त्यहाँ रहेका १५४ जनामध्ये ५४ जनालाई राति उद्धार गर्नुपर्‍यो र परिवारका लत्ताकपडा, कागजात, औषधि तथा बालबालिकाका पुस्तक, कापी, पोशाक र अन्य शैक्षिक सामग्री नष्ट भए। पछि खरिपाटी र बोडे सारिएका परिवारका बालबालिकाको विद्यालय आवतजावत, पढाइ र परीक्षा प्रभावित भएपछि कतिपय परिवार शिक्षा जोगाउन पुनः क्षतिग्रस्त क्षेत्रमै फर्केर कोठा खोज्न बाध्य भए। 

विस्थापनले गम्भीर मनोसामाजिक आघातसमेत सिर्जना गरेको छ। बल्खु बस्ती भत्काइएपछि “घर भत्केको हेर्न सक्दिनँ” भन्दै निस्किएका ६१ वर्षीय इन्द्रबहादुर राई पछि मृत फेला परेका थिए। संसदीय छलफलमा काठमाडौंमा दुई जनाले आत्महत्या गरेको उल्लेख गरिएको छ। यस्ता मृत्यु र विस्थापनबीचको सम्बन्ध स्वतन्त्र अनुसन्धानबाट पुष्टि हुनुपर्ने भए पनि मानसिक स्वास्थ्यमा परेको असर र सम्भावित संस्थागत जिम्मेवारीलाई राज्यले सामान्यीकरण गर्न मिल्दैन।

राहत तथा विपद् व्यवस्थापनमा अनधिकृत व्यक्तिको भूमिकामाथि पनि प्रश्न उठेको छ। गृह मन्त्रालयको सचिवालयसँग सम्बन्धित तथा सत्तारूढ दलका सदस्यका रूपमा चिनाइएका व्यक्तिलाई होल्डिङ सेन्टरमा विशेष पहुँच दिइएको, तर राहत र मानवअधिकारको अवस्थाबारे बुझ्न पुगेका अभियन्तालाई बाहिर निकालिएको आरोप सार्वजनिक भएको छ। त्यस्ता व्यक्तिले कुन नियुक्ति, अधिकारपत्र वा कानुनी जिम्मेवारीका आधारमा उद्धार, स्थानान्तरण, सुरक्षा परिचालन वा प्रवेश नियन्त्रणमा भूमिका खेले भन्ने सरकारले स्पष्ट गरेको छैन। यसैबीच सर्वोच्च अदालतले २०८३ वैशाख २५ गते उचित प्रक्रिया पूरा नगरी भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जबर्जस्ती हटाउन नपाइने र विस्थापितलाई आवास, शिक्षा, स्वास्थ्य तथा खाद्य सहायता सुनिश्चित गर्न अन्तरिम आदेश दिएको छ। संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले पनि बलपूर्वक निष्कासन रोक्न, प्रभावित समुदायसँग वास्तविक संवाद गर्न र स्थलमै सुधारसहितका सबै सम्भाव्य विकल्प खोज्न आग्रह गरेका छन्।

छलफल गर्नुपर्ने कारणहरूः

१. वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरण नगरी, पर्याप्त पूर्वसूचना, परामर्श, लिखित पुनर्स्थापना योजना र सुरक्षित वैकल्पिक आवासबिना बस्ती भत्काइएको।

२. जोखिमयुक्त नदी किनारबाट सुरक्षित स्थानमा सारिएको भनिएका नागरिकलाई पुनः बाढीको जोखिम भएका होल्डिङ सेन्टरमा राखी स्वच्छ पानी, पौष्टिक खाना, सरसफाइ, स्वास्थ्य सेवा, गोपनीयता र सुरक्षाको न्यूनतम व्यवस्था नगरिएको।

३. गर्भवती, सुत्केरी, शिशु, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई आवश्यक विशेष सेवा नदिइएको तथा डोजर र बाढीबाट विद्यालय, पुस्तक र शैक्षिक सामग्री नष्ट भई बालबालिकाको पढाइ र परीक्षा प्रभावित भएको।

४. रोजगारीको स्थानबाट टाढा सारिँदा दैनिक ज्यालादारी तथा अनौपचारिक श्रममा निर्भर परिवारको जीविकोपार्जन खोसिएको र राहत रकम नपाएका वा कागजातमा समस्या भएका परिवारको समाधान गर्नुको सट्टा खाना रोकी होल्डिङ सेन्टर छाड्न बाध्य पारिएको।

५. विस्थापनबाट उत्पन्न मानसिक आघात, आत्महत्या र शंकास्पद मृत्युको स्वतन्त्र छानबिन नभएको, पुनर्स्थापनामा अनधिकृत राजनीतिक वा गैरसरकारी व्यक्तिको भूमिका अस्पष्ट रहेको तथा सर्वोच्च अदालतको आदेश, संविधान, आवासको अधिकारसम्बन्धी ऐन, २०७५ र अन्तर्राष्ट्रिय मानवअधिकार प्रतिबद्धता कार्यान्वयन नभएको।

भूमिहीन र सुकुम्बासी नागरिकलाई सुरक्षित आवास तथा लालपुर्जा उपलब्ध गराउने विषय निर्वाचनअघि प्रायः सबै राजनीतिक दलको साझा प्रतिबद्धता र घोषणापत्रको प्रमुख एजेन्डा थियो। त्यसैले यो विषयलाई दलगत आरोप–प्रत्यारोप वा राजनीतिक लाभको माध्यम नबनाई साझा राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्छ। सरकार, प्रतिपक्ष, स्थानीय तह र सम्बन्धित समुदायबीच सहकार्य गरी यसको न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधान तत्काल खोजिनुपर्छ। 

यसर्थ, संविधान, कानुन र मानवअधिकारका मान्यताअनुरूप भूमिहीन तथा सुकुम्बासी नागरिकको संरक्षण र दिगो पुनर्स्थापनाका लागि नेपाल सरकारसँग देहायका कार्य तत्काल अघि बढाउन माग गर्दछुः

१. एकीकृत तथ्याङ्क र गुनासो सुनुवाइ: विस्थापित, होल्डिङ सेन्टरमा रहेका, राहत पाएका वा नपाएका तथा सम्पर्कविहीन परिवारको प्रमाणित तथ्याङ्क सात दिनभित्र सार्वजनिक गरी प्रत्येक केन्द्रमा अधिकारसम्पन्न हेल्प डेस्क स्थापना गरियोस्।

२. सुरक्षित आवास र आधारभूत सेवा: स्थायी पुनर्स्थापना नभएसम्म विपद् जोखिमरहित स्थानमा पर्याप्त कोठा, स्वच्छ पानी, विद्युत्, शौचालय, सरसफाइ, गोपनीयता र सुरक्षासहितको मानवीय आवास उपलब्ध गराइयोस्।

३. खाद्य, स्वास्थ्य र विशेष संरक्षण: खाना बन्द गर्ने कार्य रोक्दै गर्भवती, सुत्केरी, शिशु, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी र दीर्घरोगीलाई पौष्टिक खाना, निःशुल्क औषधि, मातृशिशु सेवा, एम्बुलेन्स र मनोसामाजिक परामर्श उपलब्ध गराइयोस्।

४. शिक्षा र जीविकोपार्जनको निरन्तरता: प्रभावित बालबालिकालाई पुरानै विद्यालयमा पढ्न निःशुल्क यातायात, नष्ट भएका शैक्षिक सामग्रीको प्रतिस्थापन र परीक्षा तथा उपस्थितिमा सहुलियत दिइयोस्; साथै प्रभावित परिवारको रोजगारी र जीविकोपार्जन पुनर्स्थापनाको व्यवस्था गरियोस्।

५. क्षतिपूर्ति र स्थायी पुनर्स्थापना: डोजर, स्थानान्तरण वा बाढीबाट भएको सम्पूर्ण क्षतिको स्वतन्त्र मूल्याङ्कन गरी वास्तविक क्षतिपूर्ति दिइयोस् र प्रभावित समुदायको सहभागितामा तीन महिनाभित्र जग्गा, सामाजिक आवास, भाडा सहायता वा सुरक्षित पुनर्वाससहितको स्थायी योजना ल्याइयोस्।

६. जबर्जस्ती निष्कासन रोक र संवैधानिक अधिकार कार्यान्वयन: वैकल्पिक आवास, शिक्षा, स्वास्थ्य, क्षतिपूर्ति र जीविकोपार्जनको सुनिश्चितताबिना थप बस्ती नभत्काइयोस्; सर्वोच्च अदालतको आदेश तथा संविधानको धारा ४०(५) र (६) अनुसार भूमिहीन दलितलाई जमिन र आवास उपलब्ध गराइयोस्।

७. छिटो लालपुर्जा वितरण: सरकारले गरेको प्रतिबद्धता तथा प्रचलित कानुनबमोजिम वास्तविक भूमिहीन, भूमिहीन दलित र योग्य सुकुम्बासीको पहिचान तथा प्रमाणीकरण शीघ्र सम्पन्न गरी निश्चित समयसीमाभित्र जग्गाधनी लालपुर्जा वितरण गरियोस्।

अन्त्यमा, वास्तविक भूमिहीन दलित तथा योग्य सुकुम्बासीका लागि संविधानद्वारा सुनिश्चित मौलिक हक, मानव अधिकार र मानवीय मूल्य-मान्यतालाई मध्यनजर गर्दै राजनीतिक दलहरूले चुनावअघि गरेका घोषणा तथा प्रतिबद्धताहरू स्मरण गराउन चाहन्छौँ। यस ज्वलन्त समसामयिक समस्याको दीर्घकालीन समाधानका लागि साझा जिम्मेवारी र साझा दृष्टिकोणका साथ सरकार, सत्तापक्ष, प्रतिपक्ष र सम्पूर्ण राजनीतिक दलहरूबीच एकताको सन्देश प्रवाह गर्दै यो सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्दछौँ ।’