`

मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजना निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर) । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आज महेन्द्रनगरस्थित महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको र महाकाली चार लेन पुलको स्थलगत निरीक्षण गरेका छन् ।सो अवसरमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले आयोजनाको पछिल्लो प्रगतिका बारेमा जानकारी दिएका थिए ।

लामो समयदेखि प्रक्रियागत अल्झनले पुल र सिचाँइको काम प्रभावित भएपछि बनेको जनाइएको छ । राष्ट्रिय गौरवको आयोजनामा महाकाली सिँचाइ तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएर पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइका लागि संरचना तयार भए पनि टनकपुरबाट भारतीय पक्षले नहरमा पानी नछोड्दा यहाँका किसानले सिँचाइ सुविधा पाउन सकेका छैनन् ।

सो अवसरमा उनले सिँचाइ आयोजनाको समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिएका छन् । “महाकाली सिँचाइ तेस्रो चरण नहरमा पानी सञ्चालनका लागि माथिल्लो तहबाट नै भारतसँग पहल भइरहेको छ”, उनले भने, “यहाँको समस्याका बारेमा जानकारी भएको छ समस्या समाधानमा लाग्छौँ ।”

त्यसैगरि भीमदत्त नगरपालिका–११ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको छेउमा निर्माण हुने कृतिम ताल र तटबन्ध निर्माणका लागि मन्त्रिपरिषद् स्तरीय निर्णय नहुँदा डेढ वर्षदेखि निर्माण कार्य बन्द छ । यसअघि निर्माण भएको तटबन्ध महाकाली नदीको बाढीले भत्काएपछि डिजाइनमा परिवर्तन गरिएको थियो । उक्त डिजाइन हालसम्म पनि स्वीकृत नहुँदा काम हुन सकेको छैन । उनले “तटबन्ध निर्माण नहुँदा यहाँ बाढीको जोखिम रहेछ बर्सात अघि नै यहाँको समस्या समाधान हुनेगरी काम गर्छौं ।”

अवसरवादी र लैबरीलाई कार्यकर्ताले भोट दिँदैनन्: महेश बस्नेत

काठमाडौं। नेकपा एमालेका वर्तमान पोलिटब्युरो सदस्य महेश बस्नेतले यसपटकको महाधिवेशनमा पार्टीभित्रका अवसरवादी नेताहरू पराजित हुने दाबी गरेका छन् ।

भृकुटीमण्डपमा जारी ११औ राष्ट्रिय महाधिवेशनमा बुधबार मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘यसपालि महाधिवेशनमा अवसरवादी र लैबरीलाई भोट हाल्ने कार्यकर्ता आएका छैनन्,’ उनले भने, ‘यसपालि जोस-जाँगर र ऊर्जा बोकेका, राष्ट्र र राष्ट्रिता जोगाउन सक्ने नेतालाई जिताउने प्रतिनिधि आएका छन् ।’

उनले पराजित भएका उम्मेद्वारलाई पनि पार्टीमा सम्मानजनक भूमिका दिइने बताए ।

‘चुनावमा हारेकै आधारमा कसैलाई कारबाही गर्नै मिल्दैन,’ उनले भने, ‘जित्ने साथीहरूले सम्बन्धित जिम्मेवारीमा काम गर्नुहुन्छ, उहाँहरूले पराजित हुनेलाई सम्मानजनक भूमिका दिनु पर्छ ।‘

केपी शर्मा ओलीको प्यानलबाट सचिवमा उम्मेद्वार दिएका बस्नेतले आफूले लोकप्रीय मत ल्याएर जित्ने दाबी समेत गरेका छन् ।

 

 

नेपाल सरकार र एडीबीबीच ऋण सम्झौता

काठमाडौं । नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच सार्वजनिक वित्त व्यवस्थापन तथा विकेन्द्रित सेवा प्रवाह सुदृढीकरण कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रमका लागि सहुलियतपूर्ण ऋण सम्झौता सम्पन्न भएको छ । बुधवार अर्थ मन्त्रालयमा एक समारोहका बीच उक्त सम्झौता भएको हो । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा एशियाली विकास बैंकको तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आनो कुबाले हस्ताक्षर गरे । सम्झौताअनुसार एशियाली विकास बैंकले नेपाल सरकारलाई नीतिमा आधारित ऋण सहायता स्वरूप १०० मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोग उपलब्ध गराउनेछ ।

ऋणको कुल अवधि २४ वर्ष रहनेछ भने शुरुका ८ वर्ष भुक्तानी छुट (ग्रेस अवधि) रहने व्यवस्था गरिएको छ । ऋणको ब्याजदर पहिलो चरणमा १ प्रतिशत र त्यसपछिका वर्षहरूमा १.५ प्रतिशत रहनेछ । समारोहमा बोल्दै अर्थ सचिव डा. उपाध्यायले सार्वजनिक वित्तीय व्यवस्थापनलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउँदै संघीय शासन प्रणालीलाई सुदृढ गर्न यस कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

सचिव उपाध्यायले भने, ‘सार्वजनिक वित्तीय व्यवस्थापनलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन यो कार्यक्रमले सघाउ पुग्नेछ । संघीय शासन प्रणालीलाई सुदृढ गर्न पनि यस खाले कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा हामी विश्वस्त छौं ।’ एशियाली विकास बैंकका आवासीय प्रतिनिधि कुबाले नेपाल सरकारसँगको सहकार्यलाई अझ सशक्त बनाउँदै सेवा प्रवाह सुधारमा निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममार्फत सार्वजनिक स्रोतसाधनको प्रभावकारी उपयोग, वित्तीय अनुशासन मजबुत बनाउने, राजश्व परिचालन सुधार, बजेट निर्माण तथा खर्च व्यवस्थापन प्रणाली सुदृढ गर्ने लक्ष्य लिइएको छ । साथै संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय बढाउँदै स्थानीय सरकारहरूको क्षमता अभिवृद्धि गरी समग्र विकास परिणामलाई नतिजामुखी बनाउने अपेक्षा गरिएको छ । कार्यक्रममा अर्थ मन्त्रालय तथा एशियाली विकास बैंकका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

 

 

भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा

गण्डकी । पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोडको आयोजना भोलि यहाँ हुने ‘टुरिजम मिट’ मा सहभागी हुन पोखरामा रहेको १२ सदस्यीय भारतीय ‘टुर अपरेटर र सोसल मिडया’कर्मीको टोलीले पर्यटकीय गन्तव्य बेगनास ताल क्षेत्रको अवलोकन गरेको छ ।

टोलीलाई सोमबार पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाको नेतृत्वमा सुनौली नाकामा स्वागत गर्र्दै स्थलमार्गबाट चितवन हुँदै सौराहा ल्याइएको थियो । गन्तव्य प्रवर्द्धन कार्यक्रमअन्तर्गत भारतीय टोलीलाई होटल सङ्घ नेपाल चितवनका तर्फबाट स्वागत एवं पर्यटकीय साझेदारीलगायत विषयमा अन्तक्र्रिया गर्नुका साथै चितवनका पर्यटकीयस्थल अवलोकन गराइएको थियो ।

उत्तर प्रदेशको पर्यटन विभागका सहनिर्देशक दिनेश कुमारले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भारतीय टोली आज पर्वत र बागलुङका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमणमा छ ।

निर्विरोध रौनित साह बने एमालेको कान्छो केन्द्रीय सदस्य

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा रौनित साह निर्विरोध निर्वाचित भएका छन् । मधेशबाट ४० वर्षमुनिका युवाको तर्फबाट निर्विरोध निर्वाचित भएका साह निर्विरोध भएकामध्ये सबैभन्दा कान्छो उम्मेदवार हुन् । साहको जन्म २०५२ माघ २८ गते भएको हो ।

उनी सर्लाही जिल्ला कमिटी अध्यक्ष, ३ कार्यकाल जिल्ला कमिटी सदस्य हुँदै हाल भूमि आयोग सर्लाहीको पनि सदस्य छन् । साह विगत १३ वर्षदेखि पार्टी संगठनमा सक्रियतापूर्वक काम गर्दै आइरहेका छन् । उनीसहित केही क्लस्टरबाट केही केन्द्रीय सदस्य निर्विरोध भएका छन् । एमालेको नेतृत्व चयनको लागि अहिले मतदान जारी छ ।

 

व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी

घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागतीखेती गरेर नमूना किसानको परिचय बनाएका छन् ।

रासायनिक विषादी प्रयोग नगरी खेतीमा लागेका सिभिल इन्जिनियर उनले यसमा रु एक करोड लगानी गरिसकेका छन् । चार बिघा १० कट्ठाबाट खेती सुरु गरेका ४१ वर्षीय लोहनीले यसलाई छ बिघा विस्तार गरेका छन् ।

उद्यमी लोहनीले सञ्चालन गरेको बगैँचामा ‘सुन कागती–१’ जातका करिब दुई हजारभन्दा बढी बिरुवा रोपिएका छन् । उनी भन्छन्, “सुन कागतीको बिरुवाले सामान्यतया रोपेको तीन वर्षदेखि उत्पादन दिने गर्दछ । हाल कागती जिल्लाको घोराही बजारसँगै काठमाडाँै पनि पठाउने गरेको छ ।”

बगैँचामा १० जनाले रोजगारी पाएका छन् । खेती बढाउने सोचमा रहेका उनले प्रतिकट्ठा वार्षिक रु तीन हजार तिर्ने गरेको बताउँछन् । उनले थोपा सिँचाइ प्रविधि प्रयोग गरेका छन् । तेरौटे गाउँलाई ‘ग्रिन भिलेज’का रूपमा विकास गर्ने उनको लक्ष्य छ ।

काठमाडौँमा अध्यापनसँगै हाइड्रोपावर कम्पनीमा सेवा गरेका उद्यमी लोहनीले भने, “सागसब्जीका तुलनामा कागतीमा रोग सङ्क्रमणको डर कम हुने र उत्पादन पनि अधिक हुने भएकाले कागतीखेतीमा लागेको हुँ ।” गत वर्ष प्रतिकिलो रु एक सय ५० सम्म मूल्य पाएको कागती यस वर्ष रु ८० मा झरे पनि खेतीप्रति निराश हुनुपर्ने अवस्था नरहेको उनी बताउँछन् ।

हर्क साम्पाङले गरे उपाध्यक्ष लामालाई निलम्बन

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका उपाध्यक्ष ‘विश्वक्रान्ति’ भनिने राजकुमार लामालाई निलम्बन गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले लामालाई पक्राउ गरेपछि साम्पाङले बुधबार बिहान फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै निलम्बनको निर्णय सार्वजनिक गरेका हुन् । धनकुटा घर भई हाल काठमाडौंको कपनमा बस्दै आएका लामामाथि २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम विष्फोट गराएको आरोप छ ।

सोही मुद्दाका कारण उनलाई पुनः पक्राउ गरी अनुसन्धानका लागि पाँचथर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजकुमार लामा कुमार, विश्वक्रान्ति र देवराज लामा गरी तीन उपनामबाट परिचित छन् । भिडिओ सन्देशमार्फत अध्यक्ष साम्पाङले लामाको विगत पृष्ठभूमीबारे आफू अनविज्ञ रहेको बताएका छन् । ‘मैले बुझेको चाहिँ उहाँ माओवादी पार्टीमा आबद्ध भएर लामो समयसम्म विभिन्न राजनीतिक दल र अभियानहरूमा संलग्न हुँदै आउनु भएको भन्ने मात्र हो,’ साम्पाङले भने । साम्पाङले लामामाथि निष्पक्ष छानबिन गर्न आग्रह गर्दै भने, ‘उहाँ निर्दोष ठहर भएर बाहिर ननिस्कुञ्जेलसम्म पार्टीको पदबाट निलम्बन गरिएको जानकारी गराउन चाहन्छु ।’

 

 

 

 

 

वाग्मतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

वाग्मती ।  वाग्मती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८.४१ प्रतिशत खर्च भएको छ ।

चालु आव २०८२/८३ का लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट पारित भएको थियो । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोेकसेवा आयोगले २९.९० प्रतिशत, प्रदेशसभा सचिवालयले २७ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले २३.६७ प्रतिशत, स्वास्थ्य मन्त्रालयले २०.४५ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १९.०४ प्रतिशत र श्रम, रोजगार तथा यातायात मन्त्रालयले १९.५५ प्रतिशत बजेट खर्च गरेको छन् । सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १.४८ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रधानमन्त्रीलाई ‘आमा’ भन्ने जेनजीहरुले स्वर परिवर्तन गर्न थाले : मेयर महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आपत्ति जनाएका हुन् ।

उनले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावननाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताए । तर जेनजीहरुले पछिल्लो समय निर्वाचन हुनै नदिने भनेर स्वर निकालिरहेको बताए । यस्तो गर्न नपाइने मेयर महर्जनको भनाइ छ । निर्वाचन हुनैपर्ने र निर्वाचन सफलीभुत बनाउने काममा जेनजीहरुले पनि सहयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्री ज्युको जुन सरकार छ, यसको खास काम भनेको फागुन २१ गतेको चुनाव सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो । तर अलिकति मलाई चिसो परिरहेको छ की, जेनजीले आमा भन्नु हुन्छ । भनिरहेको पनि छ । तर पछिल्लो कालखण्डमा आएर स्वर परिवर्तन गरेको छ । चुनाव हुन दिँदैनौँ भनिरहेको छ । यो भन्न पाइँदैन । चुनाव गर्नैपर्छ । चुनाव गरेर यो सरकार डिरेल भइरहेको अवस्था जुन छ, त्यसलाई रेलमा ल्याउने जुन प्रकारको मुख्य दायित्व छ, त्यो काममा सफलीभुत बनाउनै पर्छ ।’ महानगर प्रमुख महर्जनले जेनजीहरुको बुद्धि पलाउन बाँकी रहेको र निर्वाचन सफलीभुत गराउन सहयोग गर्नैपर्ने बताए ।

 

 

 

नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छिन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको बताउँदै सुशासन र निर्वाचन आफूहरुको मुख्य एजेण्डा भएको बताइन् ।

आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको उनले बताइन् । उनले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरिन् । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन एक मात्र विकल्प भनेको निर्वाचन रहेको बताइन् ।

उनले भनिन्, ‘गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको यहाँहरुलाई विदितै छ । हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेण्डामा केन्द्रित छौँ । आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेका छौँ । निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ ।’

उनले भनिन्, ‘त्यसैले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो । म थप स्पष्ट पार्न चाहन्छु, समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनु हुँदैन । शान्ति खल्बल्याउने, कानून हातमा लिने जस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ । खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुन्छ। आउनुहोस्, यसमा हातेमालो गरौँ ।’

प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनु नहुने बताइन् । शान्ति खल्बल्याउने, कानून हातमा लिने जस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको पनि बताइन् । खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि भुमिका उत्तिकै महत्वपूर्ण हुने उनले बताइन् ।

 

 

 

 

भेनेजुएलामाथि तेल ट्याङ्कर अवरुद्ध गर्न ट्रम्पको आदेश

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने सबै ‘प्रतिबन्धित तेल ट्याङ्करहरू’ अवरुद्ध गर्ने आदेश जारी गरेका छन् । यस घोषणासँगै उनले भेनेजुएलाको कच्चा तेलमा अमेरिकाको पहुँचसम्बन्धी नयाँ मागहरू अघि सार्दै काराकासविरुद्धको दबाब अभियानलाई अझ तीव्र बनाएका छन् ।

ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध लड्ने उद्देश्य देखाउँदै तर भेनेजुएलालाई विशेष रूपमा लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले महिनौँदेखि क्यारिबियन क्षेत्रमा ठूलो सैन्य तैनाथी विस्तार गर्दै आएको छ । काराकासले यस अभियानलाई वामपन्थी शक्तिशाली राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाउने प्रयासका रूपमा व्याख्या गर्दै आएको छ । मदुरोलाई वासिङ्टनसहित धेरै देशले अवैध राष्ट्रपति मान्दै आएका छन् । साथै, भेनेजुएलाले यसलाई आफ्नो तेल ‘चोर्ने’ योजनाका रूपमा पनि हेरेको छ ।

देशको हवाई क्षेत्रलाई ‘बन्द’ मानिनुपर्ने र ‘भूमिमा लागुऔषध तस्करी रोक्ने’ प्रयासहरू चाँडै सुरु हुने घोषणा गर्दै राष्ट्रपति ट्रम्पले भेनेजुएलाभित्र सैन्य कारबाहीसमेत हुनसक्ने आशय व्यक्त गरेपछि पछिल्ला हप्ताहरूमा दुवै देशबीच तनाव उल्लेखनीय रूपमा बढेको छ ।

गत हप्ता संयुक्त राज्य अमेरिकाले भेनेजुएलाबाट बाहिरिएको एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो भने भेनेजुएलाको तेल उद्योगसँग सम्बन्धित अन्य धेरै जहाज तथा कम्पनीहरूमाथि नयाँ प्रतिबन्धको घोषणा गर्दै अभियानमा थप कडाइ गरेको थियो ।

“आज म भेनेजुएलाभित्र र बाहिर जाने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूलाई पूर्ण रूपमा अवरुद्ध गर्ने आदेश दिन्छु”, राष्ट्रपति ट्रम्पले मङ्गलबार साँझ आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत लेखेका छन् । क्यारिबियन क्षेत्रमा तैनाथ विश्वकै सबैभन्दा ठूलो विमानवाहकसहितका धेरै नौसेना र समुद्री सेनाको उल्लेख गर्दै उनले चेतावनी दिएका छन्, “भेनेजुएला अहिले दक्षिण अमेरिकाको इतिहासमै भेला भएको सबैभन्दा ठूलो नौसैनिक बेडाले घेरिएको छ ।”

भेनेजुएलाको अर्थतन्त्र कच्चा तेल निर्यातमा अत्यधिक निर्भर रहेकाले तेल क्षेत्रलाई कमजोर पार्ने यस्ता कदमले राष्ट्रपति मदुरोमाथि थप दबाब सिर्जना गर्ने अनुमान गरिएको छ । तर मङ्गलबार राष्ट्रपति ट्रम्पले भेनेजुएलाको तेल उत्पादनमा अमेरिकाको पहुँच पुनः प्राप्त गर्ने लक्ष्य पनि स्पष्ट पारेका छन् ।

भेनेजुएलाले ‘हामीबाट पहिले चोरेका सबै तेल, भूमि र अन्य सम्पत्तिहरू संयुक्त राज्य अमेरिकालाई फिर्ता नगरेसम्म’ अमेरिकी नौसैनिक बेडा अझ ठूलो बन्दै जाने उनको भनाइ थियो । उनले कुन तेल वा भूमिको कुरा गरेका हुन भन्ने स्पष्ट नगरे पनि सन् १९७० को दशकमा भेनेजुएलाले आफ्नो तेल उद्योग राष्ट्रियकरण गरेको तथ्यलाई यस सन्दर्भमा स्मरण गराइएको छ । त्यसपछि राष्ट्रपति मदुरोका पूर्ववर्ती ह्युगो चाभेजको नेतृत्वमा विदेशी कम्पनीहरूलाई भेनेजुएलाको राज्य स्वामित्वको तेल कम्पनी पिडिभिएसएलाई बहुमत नियन्त्रण दिन बाध्य पारिएको थियो ।

विशेष प्रतिबन्ध छुट अन्तर्गत अझै पनि भेनेजुएलामा सञ्चालनरत अमेरिकी कम्पनी सेभरोनका प्रवक्ताले मङ्गलबार कम्पनीको गतिविधि ‘कुनै अवरोधबिना र लागू कानून तथा नियमहरूको पूर्ण पालना गर्दै निरन्तर रूपमा चलिरहेको’ जानकारी दिएका छन् ।

काराकासले भने राष्ट्रपति ट्रम्पको घोषणाको कडा निन्दा गर्दै उनको उद्देश्य ‘हाम्रो मातृभूमिको सम्पत्ति चोर्ने’ रहेको आरोप लगाएको छ । भेनेजुएलाले विगतका वर्षहरूमा अमेरिकी तेल प्रतिबन्धलाई बेवास्ता गर्दै कालो बजारमार्फत छुट मूल्यमा कच्चा तेल बिक्री गर्दै आएको छ, जसको मुख्य खरिदकर्ता चीन रहेको छ ।

पेट्रोलियम निर्यातक देशहरूको सङ्गठन ९ओपेक० का अनुसार भेनेजुएलामा करिब ३०३ अर्ब ब्यारेल तेल भण्डार रहेको अनुमान गरिएको छ, जुन विश्वका अन्य कुनै पनि देशभन्दा बढी हो ।

“यदि तेल निर्यात रोकियो भने यसले विदेशी मुद्रा बजार र देशको आयात क्षमतामा गम्भीर असर पार्नेछ र त्यसले आर्थिक सङ्कट निम्त्याउन सक्छ”, भेनेजुएलाको परामर्शदाता संस्था ओरिनोको रिसर्चका एलियास फेररले हालै एएफपीलाई बताएका थिए । उनका अनुसार मन्दी मात्र नभई, खाद्य तथा औषधिको अभावसमेत देखिन सक्छ, किनकि आयात गर्न देश असमर्थ हुनेछ ।

पेन्टागनले भने ट्रम्प प्रशासनअन्तर्गत विदेशी आतङ्कवादी सङ्गठनका रूपमा तोकिएका लागुऔषध गिरोहहरूलाई लक्षित गरिएको दाबी गर्दै ‘साउदर्न स्पियर’ नाम दिइएको आफ्नो अपरेसनको बचाउ गरेको छ । अमेरिकी सेनाले अहिलेसम्म अन्तर्राष्ट्रिय जलक्षेत्रमा लागुऔषध तस्करीमा संलग्न डुङ्गाहरूमाथि मात्र कारबाही गरेको बताइए पनि ती कारबाहीमा कम्तीमा ९५ जनाको मृत्यु भइसकेको छ, जसलाई धेरै विश्लेषकहरूले गैरन्यायिक हत्या भनेका छन् ।

यसैबीच ट्रम्प प्रशासनले भेनेजुएलाको कथित समूह ‘कार्टेल डे लस सोल्स’लाई आतङ्कवादी सङ्गठन घोषणा गर्दै राष्ट्रपति मदुरो नै यसको नेता भएको आरोप लगाएको छ । “हाम्रो सम्पत्ति चोरी, आतङ्कवाद, लागुऔषध तस्करी, मानव बेचबिखनलगायतका गतिविधिका कारण भेनेजुएलाको शासनलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गरिएको हो”, राष्ट्रपति ट्रम्पले स्पष्ट पारेका छन् ।

एमाले महाधिवेशन : तीन घण्टामा साढे ३०० खस्यो मत, नतिजा आउन कति समय लाग्ला ?

काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा बिहान साढे ११ बजेसम्ममा साढे तीन सय मत खसेको छ । एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिलेसम्म ३०० मत खसिसकेको जानकारी दिएका हुन् । गौतमका अनुसार काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो । एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरु छन् ।

यस हिसाबले मतदान सकिएर नतिजा आउन आज मध्यरातसम्म लाग्ने अनुमान छ । यही रफ्तारमा मतदान भए अबको १० घण्टामा मतदान सकिने अनुमान गरिएको छ । मतदानको सुरुवात शीर्ष नेताहरुले गरेका थिए । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदान सुरु गरेका थिए । उनीहरु प्यानलसहित प्रतिष्पर्धामा उत्रिएका छन् । एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेशिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेशिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।

भोटिङ मेशिन हुँदा पनि मतदान ढिला : प्यानलको लिस्ट लैजान पाइने, मोबाइल निषेध

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा विद्युतीय मेसिनमार्फत मतदान भइरहेको छ । आधुनिक प्रविधि प्रयोग गरिए पनि मतदान प्रक्रिया भने अपेक्षाकृत ढिलो भइरहेको गुनासो प्रतिनिधिहरूको छ । मतदानमा एक पटकमा ५० जनालाई सहभागी गराइएको छ। मतदानस्थल प्रवेश गर्नुअघि प्रतिनिधि कार्ड स्क्यान गर्नुपर्छ, भित्र छिरेपछि सोही कार्ड प्वाल पारिन्छ । त्यसपछि प्रतिनिधि भोटिङ मेशिनसम्म पुग्छन् ।

मतदानस्थलभित्र मोबाइल लैजान कडाइका साथ रोक लगाइएको छ, तर दुवै प्यानलका उम्मेदवारको सूची भने साथमा लैजान दिइएको छ । भोटिङ मेशिनमा सबै पदका उम्मेदवारको फोटो र नामसहित सूची राखिएको छ । प्रतिनिधिले इच्छाएको उम्मेदवारको नाममा दुई पटक थिचेर भोट हाल्नुपर्छ । डबल ट्याप गर्दा भोट फिर्ता हुन सक्ने भएकाले स्क्रिनमा संकेत चिह्न देखिन्छ, त्यसपछि प्रतिनिधिले भोट पुनः हाल्न वा परिवर्तन गर्न पाउँछन् ।

उम्मेदवारको सूची १५ पेजमा विभाजन गरिएको छ । प्रत्येक पेजका सबै उम्मेदवारलाई भोट हालेपछि मात्र अर्को पेजमा जान मिल्छ । कुनै पद छुटेमा मेशिनले आफैं संकेत गर्छ । तर एक पटक अगाडि बढेपछि अघिल्लो पेजमा फर्किन नमिल्ने व्यवस्था गरिएको छ । १९ पदाधिकारीका लागि ४१ जना र ३०१ केन्द्रीय सदस्यका लागि ६ सयभन्दा बढी उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । सबै पदमा मतदान गर्न एक प्रतिनिधिले करिब साढे तीन सय पटक बटन थिच्नु पर्छ । यही कारण मतदानमा समय बढी लागेको प्रतिनिधिहरू बताउँछन् । मतदान गरेर फर्किएका प्रतिनिधिहरूका अनुसार जान्नेहरूलाई पनि २५–३० मिनेट लागिरहेको छ भने नाम सूची खोज्दै भोट हाल्नेहरूलाई ४०–५० मिनेटसम्म समय लाग्ने गरेको छ । अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर

पोखरेलले झण्डै ४० मिनेटमा भोट हालेका थिए भने केही उम्मेदवारले २५–३० मिनेटमै मतदान सकेका छन् । अशक्त र आफैं भोट हाल्न नसक्ने प्रतिनिधिलाई प्राथमिकता दिइएको छ । आवश्यक परेमा सहयोगका लागि आफूले चाहेअनुसार व्यक्ति रोज्न पाउने व्यवस्था पनि गरिएको छ । मतदानका लागि ८० वटा विद्युतीय मेशिन प्रयोगमा छन् । प्रविधिमैत्री व्यवस्था भए पनि धेरै उम्मेदवार र लामो सूचीका कारण मतदान प्रक्रिया ढिलो भएको प्रतिनिधिहरूको अनुभव छ ।

 

 

 

एमालेको प्रचार सामग्रीले कुरूप बन्यो भृकुटीमण्डप क्षेत्र {तस्वीरहरू}

काठमाडौं । नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप उम्मेदवारहरूको प्रचार सामग्रीले कुरूप बनेको छ । भृकुटीमण्डप क्षेत्रको सडकमा यत्रतत्र उम्मेदवारका प्रचार सामग्री छरिएका छन् । जसका कारण सो क्षेत्रको सौन्दर्य नै हराएको छ । उम्मेदवारको पक्षमा भोट माग्न पर्चा, पम्पप्लेट तयार गरिएको छ भने सोही सामग्री जथाभाबी फाल्दा फोहोर बनेको हो । सोही फोहोरलाई बुधवार बिहान काठमाडौँ महानगरको ब्रुमरले सफा गरेको छ । एमालेको महाधिवेशन अन्तर्गत बुधवार बिहानदेखि नेतृत्व चयनका लागि मतदान हुने भनिएको छ ।

हेर्नुस् तस्वीरहरु

काठमाडौं महानरपालिकाबाट पाए ३० हजारभन्दा धेरै विद्यार्थीले छात्रवृत्ति

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरुमा शैक्षिक सत्र २०८१ मा ३० हजार ७७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर प्राप्त गरेका छन् । महानगरपालिकाले छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा छात्रवृत्तिमा ५ हजार ८९५ जनालाई, दलित छात्रवृत्तिमा १ हजार ३२२ जनालाई, अपाङ्ग र आवासीय छात्रवृत्ति ४५५ जनालाई यो अवसर प्राप्त भएको हो । यस्तै संस्थागत विद्यालयहरुमा कक्षा १ देखि १० सम्म १९ हजार ३०६ जना र कक्षा ११ र १२ मा ३ हजार ८०१ जना छात्रछात्राले छात्रवृत्ति प्राप्त गरेका हुन् । शिक्षा विभागले गएको वर्षको प्रगतिहरुका विषयमा जानकारी गराउने क्रममा यो विवरण उपलब्ध गराएको हो ।

यस वर्ष ३९ वटा विद्यालयहरुले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरे । कक्षा १ देखि १२ सम्मका ५६ हजार ३०१ जनालाई निःशुल्क पाठ्यपुस्तक प्राप्त गरे । ५८ हजार ७३९ जना विद्यार्थीले नियमित दिवा खाजा प्राप्त गरे । सेनिटरी प्याड प्रयोग गर्नु पर्ने उमेर समूहका १७ हजार ६८९ जना छात्राले निःशुल्क सेनिटरी प्याड प्राप्त गरे ।

शिक्षातर्फ यस वर्षका लागि ३ अरब २९ करोड ४७ लाख ७७ हजार रुपियाँ बजेट विनियोजन गरिएको थियो । यसको ५३.८ प्रतिशत अर्थात १ अरब ७७ करोड ३४ लाख ४२ हजार रुपियाँ खर्च भयो ।

यसमा आन्तरिकतर्फको नियमित कार्यक्रममा १ अरब ४ करोड ८५ लाख २७ हजार रुपियाँ विनियोजन गरिएकोमा त्यसको ३० प्रतिशत अर्थात् ३१ करोड ५६ लाख ५ हजार रुपियाँ खर्च भयो । गरी खाने शिक्षा महानगरको इच्छा कार्यक्रमका लागि ६० करोड रुपियाँ विनियोजन गरिएकोमा ५ करोड १ लाख ६६ रुपियाँ अर्थात् ८.४ प्रतिशत खर्च भयो । शिक्षा क्षेत्रका स्वर्णिम योजनाका लागि ११ करोड १४ लाख रुपियाँ विनियोजन भएकोमा ४ करोड ३२ लाख अर्थात् ३८.८ प्रतिशत खर्च भयो । संघीय सशर्त अनुदानबाट १ अरब ४२ करोड ३४ लाख ५० हजार रुपियाँ प्राप्त भएकोमा यसको ९२.९ प्रतिशत अर्थात १ अरब ३२ करोड २२ लाख रुपियाँ खर्च भयो ।

पुस्तकरहित शुक्रबार कार्यक्रमअन्तर्गत कक्षा ४ देखि ८ सम्मका १८ हजार २१८ जना छात्रछात्रा सहभागी भए । शिक्षामा सिप कार्यक्रम अन्तर्गत ५ हजार ११ जनाले कक्षा सम्पन्न गरे । ७७ वटा विद्यालयमा प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति गरियो । सुन्दर विद्यालय निर्माणका लागि ८२ वटा विद्यालयलाई अनुदान प्रदान गरियो । यस्तै १ हजार ४३ जना शिक्षकहरुको क्षमता विकास कार्यक्रम सम्पन्न भयो ।

प्रारम्भिक बाल विकास केन्द्रको स्तरोन्नति भएपछि बाल भर्नामा आकर्षण बढेको, एसईई परीक्षामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या बढेको, पुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे) कार्यक्रमबाट बालबालिकाको सिर्जनात्मकता र सिप विकासमा वृद्धि भएको, सुन्दर विद्यालय परियोजनामार्फत विद्यालयहरुको भौतिक तथा वातावरणीय अवस्थामा सुधार भएर विद्यालयहरु स्वच्छ, सफा र हरियाली हुँदै जानुलाई विभागले प्रगति मानेको छ ।

यस्तै दिवा खाजा तथा छात्राका लागि सेनिटरी प्याड वितरण गरेपछि विद्यार्थीहरुको उपस्थिति संख्या बढेको, कक्षाहरु सूचना प्रविधिमा आधारित हुँदै गएको, प्राविधिक धारमा अध्ययन गर्न चाहनेहरुका लागि विद्यालय स्तरबाटै पहुँच पुगेको, नियमानुसार संस्थागत विद्यालयहरुले प्रदान गर्नु पर्ने छात्रवृत्ति पूर्ण कार्यान्वयन यस वर्षका मुख्य उपलब्धि हुन्, विभागले भनेको छ ।

महानगरपालिकाभित्र आधारभूत विद्यालय २६ वटा, माध्यमिक विद्यालय ५८ वटा, विशेष विद्यालय ४ वटा, वैकल्पिक विद्यालय २३ वटा, धार्मिक विद्यालय ११ वटा, सामुदायिक सिकाइ केन्द्र २८ वटा, संस्थागत विद्यालय ४२५ वटा गरेर जम्मा शैक्षिक संस्थाहरु ७८४ वटा छन् ।

प्रारम्भिक बाल विकास केन्द्रमा ५ हजार ३३२ जना विद्यार्थीले अध्ययन गरे । आधारभूत तहअन्तर्गत कक्षा १ देखि ५ सम्म १६ हजार ५५२ जना र कक्षा ६ देखि ८ सम्म १४ हजार २१३ जना विद्यार्थीले अध्ययन गरे । माध्यमिक तहअन्तर्गत कक्षा ९ र १० मा १२ हजार ८९६ जनाले र कक्षा ११ र १२ मा १२ हजार ६४० जना र स्रोत कक्षामा ४५५ जना विद्यार्थीले अध्ययन गरे ।

यस वर्ष सामुदायिक विद्यालयहरुमा ६२ हजार ८८ जना र संस्थागत विद्यालयहरुमा २ लाख २१ हजार ६४४ जना गरी २ लाख ८३ हजार ७३२ जना विद्यार्थीले अध्ययन गरे ।

महानगरपालिकाभित्र २०९ जना सहजकर्ता, ८७ जना आया, ८७ जना विद्यालय सहयोगी, ५८ जना विद्यालय सहायक कर्मचारी, ७०५ जना प्राथमिक शिक्षक, ४३७ जना निम्न माध्यमिक शिक्षक, माध्यमिक तह कक्षा ९ र १० का लागि ४०५ जना, कक्षा ११ र १२ का लागि ४३ जना, प्राविधिक धारका प्रशिक्षक ९९ जना, भाषा सहायक १७३ जना गरी २ हजार ३०३ जना जनशक्ति छन् ।

राष्ट्रियता रक्षा गर्न ओलीको विकल्प छैन : पदम गिरी

काठमाडौं । नेकपा एमाले नेता पदम गिरीले देशको राष्ट्रियता संकटासन्न रहेको भन्दै एमालेमा केपी ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधवार नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देश संकटासन्न अवस्थामा रहेको, संविधानको रक्षा गर्नुपर्ने, मुलुकको राष्ट्रियताको रक्षा गर्नुपर्ने भएकाले एमालेमा दृढ र बलियो नेतृत्वको आवश्यकता रहेको बताए । यस समयमा केपी ओलीको नेतृत्वमा अघि बढ्नु पर्छ भन्ने हिसावले सबै प्रतिनिधिको मानसिकता तयार रहेको बताए । उनले ११ औं महाधिवेशन भव्य र सभ्य रुपले सम्पन्न भइरहेको बताए ।

उनले भने, ‘यो महाधिवेशन अत्यन्त भव्य र सभ्य रुपले सम्पन्न हुँदैछ । आफ्नो नेता चयन गर्ने कुरामा महाधिवेशन प्रतिनिधिहरु लाइनमा लागेर खुशीयालीको वातावरणमा अभिमतमार्फत आफ्नो नेता चयन गर्दै हुनुहुन्छ । यसले पनि ११ औं महाधिवेशनमा ऐतिहासिक नै भएको छ । सबै कुरा नियमित रुपमा भइरहेको छ । मुलुक अत्यन्तै अफ्ठ्यारो स्थितिमा छ ।’

उनले भने, ‘लोकतन्त्रमाथि एक किसिमको आक्रमण भइरहेको छ । संविधानको रक्षा गर्नुपर्ने स्थिति छ, मुलुकको राष्ट्रियता संकटको स्थितिमा छ । यस्तो परिस्थितिमा एमालेमा दृढ र बलियो नेतृत्वको आवश्यकता छ । यो नेकपा एमालेको मात्रै महाधिवेशन होइन, सिंगो राष्ट्रको हो । केपी ओलीको नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने हिसावले सबै प्रतिनिधिको मानसिकता देखिएको छ ।’ नेता गिरीले नयाँ अनुहार केन्द्रिय कमिटीमा देखिने बताए ।

 

 

टनकपुर व्यारेजबाट नेपालले छिट्टै सिँचाइका लागि पानी पाउने छ : मन्त्री घिसिङ

कञ्चनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले महाकाली सिँचाइ आयोजनाका लागि टनकपुर ब्यारेजबाट छिट्टै पानी उपलब्ध हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली सिँचाइको तेस्रो चरणको भौतिक प्रगति निरीक्षण गर्न बुधबार कञ्चनपुरको ब्रह्मदेव पुगेका मन्त्री घिसिङले पानी छोड्ने विषयमा भारतीय पक्षसँग आवश्यक समन्वय भइरहेको बताएका हुन् ।

टनकपुर ब्यारेजको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले नेपालतर्फ सिँचाइ सुविधा पुर्‍याउन भारतसँग कूटनीतिक र प्राविधिक दुवै तहमा पहल भइरहेको जानकारी दिए । ‘पानी छोड्ने विषयमा दुई देशका संयन्त्र एवं द्विपक्षीय भेटघाटमा निरन्तर छलफल र पत्राचार भइरहेको छ,’ मन्त्री घिसिङले भने, ‘नेपालतर्फ मुख्य र शाखा नहरहरू निर्माण भइसकेकाले भारतबाट पानी छोड्ने निर्णय आउनेमा हामी विश्वस्त छौं ।’

नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिअनुसार नेपालले सिँचाइका लागि हिउँदयाममा तीन सय क्युसेक र वर्षायाममा एक हजार क्युसेक पानी पाउने व्यवस्था छ । सोही सन्धिबमोजिम पानीको उपयोग गर्न नेपालतर्फ आवश्यक संरचनाहरू तयार भइसकेका छन् । कञ्चनपुरका सुक्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा पुर्‍याउन सकिने अवस्था रहे पनि मूल नहरमा पानी नहुँदा किसानहरू आकासे पानीको भर पर्न बाध्य छन् । परियोजनामा हालसम्म करिब ९ अर्ब रुपैयाँ लगानी भइसकेको छ । तर, अर्बौं लगानी गरेर संरचना तयार हुँदा पनि प्रतिफल प्राप्त नभएको भन्दै स्थानीय स्तरमा आलोचना हुने गरेको छ । लामो समयसम्म पानी सञ्चालन नहुँदा निर्मित संरचनाहरू समेत बिग्रिन थालेको आयोजना पक्षले जनाएको छ ।

महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार र भूमिगत सिँचाइबाट ५ हजार गरी कुल ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने सरकारको लक्ष्य छ । आयोजनाको कुल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ । तयार भइसकेका संरचनाको प्रतिफल किसानले छिट्टै पाउने गरी सरकारले नतिजामुखी पहल गरिरहेको मन्त्री घिसिङको भनाई छ ।

ओली र ईश्वर दुबै पक्षले मतदातालाई बाँड्यो प्यानलको सूची

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भइरहेको मतदान प्रक्रियासँगै प्यानल राजनीतिले तीव्र रूप लिएको छ । मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै पक्षले आ–आफ्ना प्यानलका उम्मेदवारहरूको सूची वितरण गर्दै मत मागिरहेका छन् ।

मतदानका लागि प्रतिनिधिहरू लामबद्ध भएर पालो कुर्दै गर्दा ओली पक्षका नेताहरूले आफ्ना उम्मेदवारहरूको नाम समेटिएको सूची बाँडिरहेका छन् । ओली र पोखरेलले मतदानस्थल गरिसकेका छन् । यता ईश्वर पोखरेल पक्ष भने मतदान सुरु हुनुअघि नै स्थलमा सक्रिय देखिएको छ । पोखरेल पक्षका नेताहरू लाइनमै बसेका प्रतिनिधिहरूसँग भेटघाट गर्दै आफ्नो प्यानललाई समर्थन गर्न आग्रह गरिरहेका छन् ।

यसैबीच, मतदान चलिरहेकै समयमा ईश्वर पोखरेल प्यानलको संशोधित सूची पनि प्रतिनिधिहरूलाई वितरण गरिएको छ । अन्तिम समयमा केही नाम हेरफेर गर्दै नयाँ सूची तयार पारिएको हो । ओलीको प्यानलमा समावेश नभएका तथा स्वतन्त्र उम्मेदवारी दिएका केही नेताहरूलाई आफ्नो पक्षमा समेट्दै पोखरेल पक्षले रणनीतिक पुनर्संरचना गरेको बुझिएको छ ।

खुला महिला, बागमती प्रदेश महिला, कर्णालीलगायत विभिन्न क्लस्टरका उम्मेदवारहरूमा हेरफेर गरेर ओली पक्षका मतदातालाई आफूतिर तान्ने प्रयास गरिएको स्रोतहरूको भनाइ छ । पदाधिकारी तहमा आवश्यक मत सुनिश्चित गर्न अन्तिम समयसम्म दुवै पक्षले आक्रामक प्रचार र लबिङ गरिरहेका छन् । मतदानस्थलमै प्यानल सूची वितरण र मत माग्ने गतिविधिले एमालेको आन्तरिक प्रतिष्पर्धा कति तीव्र छ भन्ने स्पष्ट देखिएको छ । अब प्रतिनिधिहरूको मतले पार्टीको भावी नेतृत्व र शक्ति सन्तुलन कसको पक्षमा जाने हो भन्ने टुंगो लाग्नेछ ।

एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुने छैन : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले स्वच्छ प्रतिष्पर्धा एमालेले स्वीकारेको विधि भएको बताएका छन् । बुधवार बन्द सत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमाले अहिले पनि जनतको प्रिय पार्टी भएको बताउँदै आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिएर जानसक्ने सामथ्र्य एमालेले मात्रै राख्ने बताए । मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने काम एमालेले गर्ने बताए ।

राजनीतिक स्थायित्वतर्फ लैजाने कार्यभार पूरा गर्नेगरी महाधिवेशनबाट आफूहरु एकतावद्ध हुने बताए । निर्वाचित नेतृत्वले समग्र भावना समेटेर अघि बढ्ने बताए । जुनसुकै प्रहार भए पनि नेकपा एमाले यो मुलुकको स्वाधिनता, लोकतन्त्र, संविधानको पक्षमा दृढताका साथ अघि बढ्ने बताए ।

उनले भने, ‘एमाले जनताको प्रिय पार्टी हो । आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिएर जानसक्ने सामथ्र्य एमालेले राख्नु पर्छ । यस प्रकारको नेतृत्व यो महाधिवेशनबाट आउनेछ । मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने काम गर्नेछ । राजनीतिक स्थायित्वतर्फ लैजाने कार्यभार पूरा गर्नेगरी हामी यो महाधिवेशनबाट एकतावद्ध हुनेछौँ ।’

उनले भने, ‘प्रतिष्पर्धा देखिन्छ, स्वस्थ प्रतिष्पर्धा एमालेले स्वीकारको विधि हो । यसबाट निर्वाचित नेतृत्वले समग्र भावना समेटेर अघि बढ्छ । एमालेमाथि धेरै प्रहार छन्, जुनसुकै प्रहार भए पनि नेकपा एमाले यो मुलुकको स्वाधिनता, लोकतन्त्र, संविधानको पक्षमा दृढताका साथ अघि बढ्छ । प्रतिक्रियावादी शक्तिहरुले एमाले जस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहन्छन्, तथापि हामी देशहितको पक्षमा उभिएका छौँ ।’ नेता बर्तौलाले एमाले फुटोस् र एमालेबाट मान्छे आएपछि पार्टी बनाउँछु भन्दै हिँडेकाहरुको चाहना कहिल्यै पूरा नहुने बताए ।

 

 

 

पक्ष–विपक्ष छैन, हामी सबै एमाले : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष, विपक्ष नरहेको बताएका छन् । बुधवार बन्द सत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सबै एमाले भएकाले जित, हार एमालेकै हुने बताए । उनले सबैभन्दा पहिला देश रहेकाले देश रहे मात्रै पार्टी रहने बताए । उनले देश बनाउन राजनीतिक दलहरु रहनुपर्ने बताए । नेकपा एमालेलाई जनताको मन मनमा समेट्नुपर्ने जरुरी रहेको बताए । कार्यकर्ताबाटै नेता बन्ने भएकाले कार्यकताले गरेको फैसला मञ्जुर हुने बताए ।

उनले भने, ‘सबैभन्दा पहिलो कुरा देश हो । देश रहे मात्रै हामीले पार्टी बनाउँछौँ । त्यसपछि मात्रै जनताको समृद्ध नेपाल र सुखी नेपाली पूरा गर्नसक्छौँ । पहिला देश नै हो । देश बनाउन पार्टी बच्नु जरुरी छ । नेकपा एमालेलाई जनताको मनमनमा समेट्नु पर्छ । कार्यकर्ताबाटै नेताहरु बन्ने हो । आवधिक चुनावलाई विश्वास गर्ने पार्टीका नेताहरु हौँ । कार्यकर्ताबाट नेता छानिने कुरा हो । कुन पक्ष, विपक्ष छैनौँ । हामी सबै यहाँ एक पक्ष एमाले नै छौँ । जो राम्रा साथीहरुलाई विश्वास गर्छन्, त्यसैले नेतृत्व गर्दछ ।’ नेता श्रेष्ठले ईश्वर पोखरेल, नेकपा मालेदेखि एमाले बनाउने आर्किटेक्ट भएको बताए। कार्यकर्ताले गरेको फैसलाअनुसार नेतृत्व चयन हुने बताए ।

ओली र ईश्वरले मतदान गर्न कति लगाए समय ?

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा विद्युतीय मेशिनमार्फत मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिला गरी बिहान साढे ९ बजेदेखि सुरु भएको हो । मतदानस्थलमा ८० वटा भोटिङ मेशिन राखिएका छन् र मतदान सम्पन्न हुन ६ देखि ८ घण्टा लाग्ने अनुमान गरिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु भई करिब २ घण्टाभित्र नतिजा आउने बताइएको छ।

अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेलले लगभग बराबर समय लगाएर मतदान पूरा गरेका छन् । प्राविधिक लक्ष्मण रिमालका अनुसार ओलीले सबै पदमा भोट हाल्न करिब ४० मिनेट समय लिएका थिए भने पोखरेलले पनि झण्डै उस्तै समय खर्च गरेका थिए । उनीहरू दुवैले सँगसँगै मतदान सुरु गरेको र करिब एकै समयमा मतदान सकिएको जनाइएको छ । ओलीले ७७ नम्बर र पोखरेलले ७६ नम्बर भोटिङ मेशिनमा मतदान गरेका थिए । ओली समूहबाट उपाध्यक्षका उम्मेदवार विष्णु पौडेलले करिब २५ मिनेटमा मतदान सकेका थिए भने पोखरेल समूहबाट महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले करिब ३० मिनेट समय लिएका थिए । महासचिवका अर्का प्रत्यासी शंकर पोखरेलले ७५ नम्बर मेशिनमा मतदान गरेका छन् ।

यस महाधिवेशनमा १९ पदाधिकारीका लागि ४१ जना उम्मेदवार प्रतिष्पर्धामा छन् भने ३०१ केन्द्रीय सदस्य पदका लागि ६ सयभन्दा बढी उम्मेदवार मैदानमा छन् । सबै पदमा भोट हाल्न मतदाताले करिब साढे तीन सय पटकसम्म बटन थिच्नुपर्ने भएकाले मतदान प्रक्रिया समयलाग्दो बनेको छ ।

ओली प्यानलबाट उपाध्यक्षमा गुरु प्रसाद बराल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल उम्मेदवार छन् । महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णुप्रसाद रिमाल तथा सचिवमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई र हिक्मत कुमार कार्की उम्मेदवार रहेका छन् ।

पोखरेल प्यानलतर्फ उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा. विन्दा पाण्डे र पर्शुराम मेघी गुरुङ उम्मेदवार छन् । महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, वैजनाथ चौधरी र आनन्द पोखरेल तथा सचिवमा अग्नि खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाल उम्मेदवार बनेका छन् । मतदान प्रक्रियामा अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म सबै पदमा प्रतिष्पर्धा कडा देखिएको छ भने नेतृत्व चयनको अन्तिम नतिजाप्रति कार्यकर्ता र नेताहरूको चासो बढ्दो छ ।

 

 

ज्योति मगर आज पनि एमाले महाधिवेशनस्थलमा : प्रतिनिधि नभए पनि भोट माग्दै

काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा चलिरहेको मतदानबीच मंगलबार एकाएक राजनीतिक माहोलभन्दा फरक दृश्य देखियो । अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलबीचको कडा प्रतिष्पर्धाले तातेको वातावरणमा चर्चित लोकदोहोरी गायिका तथा मोडल ज्योति मगर भने प्रतिनिधिहरूको लामै लाइनमा पुगेर भोट माग्दै व्यस्त देखिइन् ।

मतदानस्थलमा कडाइका साथ सुरक्षा व्यवस्था गरिएको र पास बिनालाई प्रवेश निषेध गरिएको भनिए पनि एमाले महाधिवेशनकी प्रतिनिधि नै नभएकी मगर कसरी मतदानको संवेदनशील क्षेत्रसम्म पुगिन् भन्ने प्रश्नले सबैको ध्यान तान्यो । उनी कसको पक्षमा मत माग्दै थिइन् भन्ने प्रष्ट नभए पनि लाइनमा बसेका प्रतिनिधिहरूसँग हाँसी–ठट्टा, भलाकुसारी र आत्मीय संवादमा उनी खुलेरै रमाइरहेकी थिइन् ।

लामो प्राविधिक उल्झनपछि सुरु भएको मतदान प्रक्रियामा ८० वटा भोटिङ मेशिन र लामो लाइनका कारण प्रतिनिधिहरूले ३५ देखि ४० मिनेटसम्म पालो कुर्नुपरेको अवस्था थियो । त्यही बीचमा मगरको उपस्थितिले गम्भीर राजनीतिक वातावरणमा अनपेक्षित ‘स्टार टच’ थपिदियो । कतिपय प्रतिनिधिहरूले यसलाई अनौठो त कतिपयले रमाइलो दृश्यका रूपमा लिए ।

ज्योति मगरको भृकुटीमण्डप उपस्थिती नयाँ भने होइन । उनी हिजो पनि महाधिवेशनस्थल वरपर देखिएकी थिइन् । तर आजको दृश्य फरक थियो—बाहिर सीमित नरही उनी सिधै मतदानका लागि पालो कुरिरहेका प्रतिनिधिहरूकै लाइनमा पुगिन् । यही कारण उनको उपस्थिती चर्चा र कौतुहलको विषय बन्यो । राजनीतिक रस्साकस्सी, सुरक्षा घेराबन्दी र मतदानको चापबीच गायिका मगरको यो ‘लाइन क्याम्पेन’ ले महाधिवेशनको दृश्यलाई केही क्षणका लागि भए पनि हलुका, रंगीन र चर्चित बनाइदियो । भृकुटीमण्डपमा आज राजनीति मात्र होइन, चासो र चर्चाको केन्द्र पनि उनै बनिन् । उनी हिजो पनि एमाले महाधिवेशनस्थल पुगेकी थिइन् ।

 

एमाले महाधिवेशन : मतदानका लागि उम्मेदवार र प्रतिनिधि लाइनमा (तस्वीरहरू)

काठमाडौं । नेकपा (एमाले) को ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा मतदान जारी छ । पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण निर्वाचनमा सहभागी हुन महाधिवेशनका प्रतिनिधि तथा उम्मेदवारहरू बिहानैदेखि मतदान लाइनमा देखिएका छन् । यस पटक एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर मतदान गरिरहेको छ । बुथभित्र प्रवेश गरेपछि निर्वाचन आयोगबाट प्रमाणित टच स्क्रिन मेसिनमा उम्मेदवारहरूको नाम र फोटो देखिन्छ । मतदाताले आफूले रोजेको उम्मेदवारको फोटोमा टच गरेर मत जाहेर गर्छन् ।

मतदान भएपछि सम्बन्धित उम्मेदवारको फोटोमा स्वस्तिक चिन्ह देखिने व्यवस्था गरिएको छ, जसले मत दर्ता भइसकेको संकेत दिन्छ । मतदान प्रक्रिया पदीय मर्यादाक्रमअनुसार अघि बढ्छ । अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारहरूको नाम क्रमबद्ध रूपमा देखाइने भएकाले माथिल्लो पदको मतदान नगरी तल्लो पदमा जान पाइँदैन। सबै पदमा मतदान पूरा भएपछि मेसिनबाट ‘बिप’ आवाज वा अडियो सन्देश आउँछ, जसले मतदान सफल भएको जानकारी दिन्छ ।

महाधिवेशनमार्फत ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ । पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव निर्वाचित हुनेछन् । अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मुख्य प्रतिस्पर्धामा छन् । समग्रमा करिब ६ सय ५० हाराहारी उम्मेदवार चुनावी मैदानमा रहेका छन् भने केही सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

मतदानस्थलमा जम्मा ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएका छन् । एक पटक कुनै मेसिनमा प्रवेश गरेपछि मतदाताले सबै पदका उम्मेदवारलाई सोही मेसिनबाट मतदान गर्नुपर्ने व्यवस्था छ । यद्यपि मतदान प्रक्रिया केही समय लागे पनि मतगणना भने छिटो सम्पन्न हुने अपेक्षा गरिएको छ । सबै मेसिनको मत संख्या संकलन गरी निर्वाचन आयोगले प्रमाणीकरण गर्न करिब ४ देखि ५ घण्टा लाग्ने अनुमान गरिएको छ । भृकुटीमण्डपमा देखिएको लामो लाइन, उम्मेदवार र प्रतिनिधिहरूको सक्रिय सहभागिता तथा विद्युतीय प्रणालीको प्रयोगले यसपटकको एमाले महाधिवेशनलाई विशेष बनाएको छ । नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक यात्रा कस्तो मोड लिन्छ भन्ने चासो पनि उत्तिकै बढेको छ ।

हेर्नुस् तस्वीरहरु

एमाले महाधिवेशन : मतदानका लागि प्रतिनिधिहरु ‘लाइन’ मा

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा सहभागी प्रतिनिधिहरू मतदानका लागि बिहानैदेखि लाइनमा उभिन थालेका छन् ।

यसअघि प्राविधिक तयारी नपुगेको भन्दै पटक–पटक सरेको मतदान अन्ततः तय समयमै सुरु भएको हो । केन्द्रीय सदस्यका उम्मेदवार तथा वर्तमान स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार सबै प्राविधिक तयारी राति नै पूरा भएकाले मतदान समय सार्नुपर्ने अवस्था रहेन । उनका अनुसार विद्युतीय भोटिङ मेशिनमार्फत मतदान हुँदैछ ।

भृकुटीमण्डपको मुख्य हल बुधबारका लागि अन्य प्रयोजनमा बुक भएकाले मतदानस्थल भने परिवर्तन गरिएको छ। महाधिवेशनको बन्द सत्र भएको स्थानमै मतदानको व्यवस्था मिलाइएको हो। एमालेका लागि २ हजार २६२ जना प्रतिनिधि छनोट भइसकेका छन्, जसले आज मतदानमा भाग लिँदै छन्।

यस पटक एमालेले ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको छ। रामलक्ष्मण इनोभेसन प्रालिले निर्माण गरेको उक्त मेसिन अघिल्ला महाधिवेशनमा जस्तै यसपटक पनि प्रयोगमा ल्याइएको हो। कम्पनीका प्राविधिक लक्ष्मण रिमालका अनुसार सबै उपकरणमा डाटा इन्ट्री सम्पन्न भइसकेको छ र मतदानका लागि तयारी अवस्थामा राखिएको छ। मतदान गर्न एक जना मतदातालाई करिब ३५ देखि ४० मिनेट समय लाग्ने अनुमान गरिएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु हुने र करिब दुई घन्टाभित्र परिणाम सार्वजनिक हुने जनाइएको छ।

महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ। पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव निर्वाचित हुनेछन्। नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।

पाँच जना उपाध्यक्षका लागि अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन्। महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच प्रतिस्पर्धा भइरहेको छ।
त्यस्तै उपमहासचिवका तीन पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार बनेका छन्।

सचिवका नौ पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की प्रतिस्पर्धामा छन्। एमालेको ११औँ महाधिवेशनबाट आउने नयाँ नेतृत्वले आगामी राजनीतिक दिशा तय गर्ने भएकाले आजको मतदानलाई चासोका साथ हेरिएको छ।

एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव, मतदानस्थल परिवर्तन

काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान हुने भएको छ । मंगलबार साँझ नै मतदान गर्ने तयारी भए पनि प्राविधिक कारण र मतदानस्थलको व्यवस्थापनका कारण प्रक्रिया स्थगित गरी बुधबार बिहानका लागि सारिएको हो ।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार साँझ ७ बजेदेखि नै महाधिवेशन प्रतिनिधिहरू मतदानका लागि लाइनमा बसेका थिए । अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल समेत मतदानस्थलमा उपस्थित थिए । तर करिब सवा ८ बजे महासचिव शंकर पोखरेलले प्राविधिक समस्या र मौसमको चिसोपनका कारण मतदान भोलि बिहानसम्मका लागि स्थगित गरिएको जानकारी गराएका थिए ।

एमालेले यस पटक पनि रामलक्ष्मण इनोभेसन प्रालिले निर्माण गरेको विद्युतीय भोटिङ मेशिन प्रयोग गर्दैछ । ८० वटा इलेक्ट्रोनिक भोटिङ मेशिनमार्फत २ हजार २६२ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । प्राविधिक लक्ष्मण रिमालका अनुसार उम्मेदवारहरूको विवरण, मतदाता नामावली, क्लस्टर व्यवस्थापन जस्ता डाटा इन्ट्री समयमै पूरा गर्न नसकिएकाले मतदान सुरु गर्न ढिलाइ भएको हो । अहिले भने सबै डाटा इन्ट्री सकिएर उपकरण तयारी अवस्थामा पुगेको उनले बताएका छन् ।

मतदानस्थल पनि परिवर्तन गरिएको छ । मंगलबार मेशिन राखिएको हल बुधबार बिहान खाली गर्नुपर्ने भएकाले भृकुटीमण्डप परिसरभित्रै अर्को हलमा मेशिन सारेर मतदान गरिनेछ । एक जना मतदातालाई मतदान गर्न करिब ३५ देखि ४० मिनेट लाग्ने अनुमान गरिएको छ । मतदान सकिए लगत्तै मतगणना सुरु हुने र विद्युतीय प्रणाली भएकाले करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने एमालेले जनाएको छ ।

महाधिवेशनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, नौ सचिव र ३०१ केन्द्रीय सदस्य चयन हुनेछन् । अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुँदैछ । दुवै नेताले आ–आफ्नो प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

पाँच उपाध्यक्ष पदका लागि अरूण नेपाल, गुरुप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन् । महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे प्रतिष्पर्धामा छन् । त्यसैगरी उपमहासचिव पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन्।

सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की प्रतिष्पर्धामा छन् । प्राविधिक तयारी पूरा भएसँगै आजको मतदानले एमालेको नयाँ नेतृत्व चयनको बाटो खोल्ने अपेक्षा गरिएको छ ।

एमालेको मतदान स्थगित, भोलि विहान ८ बजेबाट हुने

काठमाडौं । नेकपा एमालेको मतदान स्थगित भएको छ । भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । प्रतिनिधिहरू भोट हाल्न २ घण्टाअघिदेखि लाइन बसेका थिए ।

९ बजेलाई मतदानको समय तोकिएको थियो । तर, अन्तिममा आएर प्राविधिकरण कारण मतदान स्थगित भएको बताइएको छ । मतदान स्थगित भएसँगै प्रतिनिधि र उम्मेदवारहरू तितिरबितर भएका छन् । आज बिहान १० बजेदेखि नै मतदानको समय तोकिएकोमा विद्युतीय मेसिनमा उम्मेदवारको विवरण प्रविष्टमा प्राविधिक समस्या देखिएको बताइएको छ । सुरूमा अल्फाबेटिकल अर्डर र पछि फन्टको समस्या भएको बताइएको छ ।

ह्विलचियर बन्जी जम्प गरेर जन्मदिनमा दीपाले रचिन् साहसिक इतिहास

नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले बन्जी जम्प गरेर साहस र आत्मविश्वासको उदाहरण प्रस्तुत गरेकी छन् । सिन्धुलीकी दीपा देवकोटाले सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपाङ्गता बाधा होइन, अवस्था मात्रै हो भन्ने सन्देश दिएकी छिन् ।  

‘स्पाईनल बाईफिडा’ नामक शारीरिक अपाङ्गता हुँदाहुँदै पनि ह्विलचेयरसहित बन्जी जम्प गरेर उनले समाजमा व्याप्त नकारात्मक सोचलाई चुनौती दिएकी छन् । उनी एक सक्रिय अपाङ्गता अधिकारकर्मी हुन् र अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न सामाजिक कार्यमा समेत सक्रिय छिन् ।  अपाङ्गता भएका व्यक्तिहरू पनि समाज, समुदाय र राष्ट्रका हरेक गतिविधिमा समान रूपमा सहभागी हुन सक्षम छन् भन्ने सन्देश दिनकै लागि आफूले बन्जी जम्प गरेको उनको भनाई छ । 

 ‘अपाङ्गता कमजोरी होइन, आत्मबल र अवसर पाएमा हामी पनि सबै क्षेत्रमा अघि बढ्न सक्छौँ,’ देवकोटा भन्छिन्, ‘मेरो यो प्रयासले अन्य अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छु ।’

नेपालमा साहसिक पर्यटनको क्षेत्र तीव्र गतिमा विस्तार भइरहेको अवस्थामा देवकोटाको यो साहसिक कदमले अपाङ्गता भएका व्यक्तिहरूका लागि साहसिक खेलकुद र पर्यटन क्षेत्र पनि पहुँचयोग्य हुनुपर्छ भन्ने मुद्दा लाई थप बल दिएको छ ।  उनले आफ्नो जन्मदिन पारेर यो साहसीक इतिहास रचेकी हुन् ।

उनी भन्छिन्, ‘मेरो जन्मदिने आमा बुबालाई यो समाजले अपाङ्गता भएको सन्तान जन्माएको भन्दै सामाजिक र मानसिक रुपमा विभेद गरिरहँदा म मेरो उहाँहरूलाई धन्यवाद दिन चाहन्छु ।अपाङ्गताले मेरो जीवनको कुनैपनि अध्यायलाई रोक्नेछैन।’ 

   

गण्डकीका दुई औद्योगिक क्षेत्रको ‘इआइए’ स्वीकृत

गण्डकी ।  गण्डकी प्रदेश सरकारले कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन(इआइए) स्वीकृत गरेको छ ।

‘इआइए’ स्वीकत गरेसँगै औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको भोगाधिकार लिने प्रक्रिया अगाडि बढेको छ । परामर्शदाता कम्पनी गौमुखीले ‘इआइए’को जिम्मा पाएको थियो । ‘इआइए’को प्रक्रिया लम्बिँदा औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भएको थियो । आठ वर्षअघि प्रदेश सरकारले पुँडीटार र लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेको थियो । प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको उद्योग–वाणिज्य महाशाखाका प्रमुख महराज ढकालले दुवै जिल्लाका डिभिजन वन कार्यालयसँगको समन्वयमा औद्योगिक क्षेत्र निर्माणस्थलमा काट्नुपर्ने रुखको गणना भइरहेको जानकारी दिएका छन् ।

प्रस्तावित दुवै औद्योगिक क्षेत्रको जग्गा सामुदायिक वन क्षेत्रभित्र पर्छ । “औद्योगिक क्षेत्र निर्माण गर्दा काट्नु पर्ने रुखको गणनासहित क्षेत्रफल यकिन गरेर सङ्घको वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पठाउँदैछौँ”, उनले भने, “वन तथा वातावरण मन्त्रालयबाट प्रस्ताव स्वीकृत भएपछि सङ्घीय मन्त्रिपरिषद्बाट जग्गा भोगाधिकार दिने निर्णय हुन्छ ।” सङ्घ सरकारले गण्डकी प्रदेश सरकारलाई जग्गा भोगाधिकार दिने निर्णय गरेपछि औद्योगिक क्षेत्र निर्माण सुरु हुने महाशाखा प्रमुख ढकालले बताएका छन् ।

लोकाहाखोलाको जग्गा चुरे संरक्षण क्षेत्रभित्र पर्ने भएकाले ‘इआइए’को प्रक्रिया पूरा हुन धेरै समय लागेको उनको भनाइ छ । जग्गा प्राप्तिका लागि प्रदेश सरकारले यसअघि नै वन तथा वातावरण मन्त्रालयमा प्रस्ताव पठाएको थियो । वन तथा वातावरण मन्त्रालयको सहमतिपछि सङ्घीय मन्त्रिपरिषद्ले प्रस्तावित औद्योगिक क्षेत्रका जग्गा उपलब्ध गराउने निर्णय गर्ने महाशाखा प्रमुख ढकालले बताए ।

गण्डकी प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका दुई औद्योगिक क्षेत्र निर्माण प्रक्रियालाई अगाडि बढाएको हो । प्रदेश सरकारले पुँडीटारमा रु ५४ करोड र लोकाहा खोलामा रु ७६ करोडको विस्तृत परियोजना प्रतिवेदन
(डिपिआर)समेत तयार पारिसकेको छ । औद्योगिक क्षेत्रलाई आवश्यक जग्गा नापजाँच तथा यकीन भइसकेकाले अब जग्गा उपलब्ध गराउने सम्बन्धमा सङ्घ सरकारको निर्णयको पखाईमा प्रदेश सरकार छ ।

जग्गाको भोगाधिकार आएपछि पुँडीटारमा चार हजार पाँच सय रोपनी र लोकाहाखोलामा १४१ बिघामा औद्यागिक क्षेत्र निर्माण हुने जनाइएको छ । पुँडीटार औद्योगिक क्षेत्रले कास्कीको पोखरा–३३ र तनहुँको शुक्लागण्डकी–९ को केही भू–भागलाई समेट्छ । लोकाहाखोला औद्यागिक क्षेत्र नवलपुरको कावासोती–१ र देवचुली–१० मा स्थापना हुन लागेको हो । पुँडीटारमा केही अव्यवस्थित बसोबास रहेको ठाउँ रहेपनि बस्तीबाहेकको जग्गालाई मात्र समेटेर ‘डिपिआर’ बनाइएको मन्त्रालयले जनाएको छ ।

निर्वाचनबाट किन्तु, परन्तु भनेर पन्छिने अवस्था छैन : रामप्रसाद भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबाट किन्तु परन्तु भनेर पछि हट्ने अवस्था नरहेको बताएका छन् । मंगलवार सरकारसँग निर्वाचन आयोगले गरेको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कसैको कारणले निर्वाचन बिथोलियो भनेर अरुलाई आक्षेप लगाएर मुक्त हुने अवस्था नरहेको भन्दै निर्वाचन गराउन सबै लाग्नुपर्ने बताए । आगामी फागुन २१ गतेका लागि सरकारले तोकेको निर्वाचन विकल्पबिहीन निर्वाचन भएको दाबी गरे ।

उनले हरेक क्षेत्र, तह र तप्काबाट गहन रुपमा लिएर निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेको बताए । सामाजिक सञ्जाललाई कति हदसम्म प्रचारप्रसार गर्न दिने, नकारात्मक प्रचारप्रसार गर्दा कसरी नियन्त्रण गर्ने भन्ने बारेमा सरकारले सोच्न जरुरी रहेको बताए । एआई प्रविधिको दुरुपयोगबारे पनि सरकारले गहन रुपमा छलफल गर्न जरुरी रहेको बताए । उनले भने, ‘शुरुमै हामीले सोसल मिडियालाई कति हदसम्म जान दिने र सोसल मिडियाले कतिसम्म प्रचार गर्न पाउने, सोसल मिडियाले कुनै पनि उम्मेदवारको विरुद्धमा कतिसम्म प्रचार गर्न दिने यदि त्यस्तो नकारात्मक प्रचारप्रसार गर्दा त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने लगायत बारेमा सरकारले सोच्न जरुरी छ । यो विषय अझ जटिल छ ।’

उनले भने, ‘अहिले एआई प्रविधि जुन आएको छ, झन ठूलो जटिलता थपेको छ । यसलाई नियन्त्रण गर्ने उपाय त्यही किसिमको प्राविधिक व्यक्तिहरुलाई समेटेर अघि बढ्न नसके ती विषयहरु जटिल हुन्छन् । निर्वाचन आयोगले निर्वाचनामैत्री वातावरण श्रृष्टि गरेर निर्वाचनको वातावरण बनाउने हो । निर्वाचनका लागि निष्ठाका साथ प्रवेश गर्ने हो । कुनै पक्षबाट त्यसमा विरोधाभाष आयो र विरुद्धमा कुनै प्रतिक्रिया भयो भने त्यसलाई नियन्त्रण गर्ने काम निर्वाचन आयोग, सरकार, राजनीतिक दल, मतदाता, नागरिक समाजका अगुवा सबैको भुमिका हुन्छ । निर्वाचनमा कुनै किन्तु, परन्तु भनेर पछि हट्यो भने मेरो होइन, उसको कारणले निर्वाचन बिथोलियो भनेर अरुलाई आक्षेप लगाएर मुक्त हुने अवस्था हुँदैन । यो गर्नैपर्ने विकल्पविहिन निर्वाचन हो । यसलाई हरेक क्षेत्र, तह र तप्काबाट गहन रुपमा लिनुपर्छ ।’

उनले मतदाता नामावली उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको र पुसको १५ गतेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्ने बताए । सबै राजनीतिक दलहरुसमेत प्रतिष्पर्धामा सहभागी हुनका लागि निर्वाचनको लक्षित दायरामा प्रवेश गरेर निर्वाचनमा जाने बताइसकेकाले निर्वाचनको वातावरण बनिसकेको बताए । मुलुक निर्वाचनमय भइसकेको दाबी गरे । समयमै निर्वाचन हुने र निर्वाचनको विकल्प नभएको बताए ।

 

 

 

 

मन्त्री खरेल भन्छन्, (मुलुक) निर्वाचनमा होमिइसक्यो

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनिसकेको बताएका छन् ।

निर्वाचन आयोगसँग आज भएको छलफलमा उनले समग्र मुलुक निर्वाचनमा होमिएकाले निर्वाचनको उत्सव महोत्सबमा परिणत हुँदै गएको बताएका छन् ।

मन्त्री खरेलले भने, “निर्वाचन आयोगले कार्यतालिका बनाएर सबै सरोकार भएका पक्षलाई निर्वाचनमा समाहित गर्दै गएको छ । संवेदनशील र अलि विशेष र चुनौतीको अवस्थामा पनि आयोगले खेलेको भूमिकाप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद भन्न चाहन्छु ।”

निर्वाचन हुन्छ भन्नेमा सम्बद्ध सबै पक्षलाई विश्वास भएको सरकारको बुझाइ रहेको बताउँदै उनले आयोग, सरकार, सुरक्षा निकाय र राजनीतिक दल पनि आफ्नो तयारीमा लागेको उल्लेख गरेका छन् । “निर्वाचनका लागि मतदाता पनि तयारी अवस्थामा हुनुहुन्छ । छोटो समयमा आठ लाखभन्दा बढीले मतदाता नामावलीमा नाम समावेश गराएको विषय आफैँमा ऐतिहासिक रह्यो”, मन्त्री खरेलले भनेका छन् ।

सबै प्राविधिक, कानुनी र अरु प्रक्रियागत विषयसँगै राजनीतिक विषय पनि त्यतिकै महत्त्वपूर्ण रहेको बताउँदै उनले आयोगले उठाएका विषयलाई आत्मसात् गर्दै सरकारले कानुनमन्त्रीको संयोजकत्वमा संवादका लागि समिति गठन गरेको जानकारी दिएका छन् ।

मन्त्री खरेलले निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्न र मतदाता शिक्षा जनतासम्म पु¥याउनका लागि आयोगसँग हातेमालो गरेर अगाडि बढ्न मन्त्रालय तयार रहेको बताएका छन् ।

गलत सूचना र समाचारको प्रभाव रोक्न प्रेस काउन्सिल नेपाल र मन्त्रालय मातहतका निकायमा सोही अनुसारको व्यवस्था गरिएको जानकारी दिँदै उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्न साइबर ब्यूरो र प्रेस काउन्सिललाई आग्रह गरिएको बताए । उनले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना भए÷नभएको अनुगमन गरिने बताएका छन् ।

सशस्त्रका तीन एआईजीको सरुवा, को कहाँ ?

काठमाडौं । मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायणदत्त पौडेलको मानव स्रोत विभागमा सरुवा गरिएको छ । यसअघि उनी कार्य विभागमा थिए । मानव स्रोतमा रहेका वंशी दाहालको सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । सीमा सुरक्षामा रहेका अर्का एआईजी गणेश ठाडामगरको कार्य विभागमा सरुवा गरिएको छ ।

 

‘सरकारले सांसदहरुको मानहानी गरिरहेको छ’

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सरकारले आफूहरुको मानहानी गर्ने काम गरिरहेको आरोप लगाएका छन् । मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद पदमबहादुर परियार, नेकपा (एमाले) की सांसद सुमित्रा विसी, नेपाली कम्युनिष्ट पार्टीकी सांसद मदनकुमारी साहले सरकारले संसद र सांसदहरुको मानहानी हुनेगरी न्युनतम सेवा, सुविधा समेत कटौति गर्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन् । कांग्रेस सांसद परियारले सरकारले सांसदहरुको खर्च कटौति गरेर आफूहरुले विकासको काम गरेको भन्दै निर्वाचनका लागि राजनीति गरिरहेको आरोप समेत लगाइन् ।

उनले भनिन्, ‘पार्लियामेन्टरिएनहरुको मानहानी गर्ने, यिनीहरु केही पनि होइनन् र केही पनि चाहिँदैन भन्ने तरिकाबाट अहिलेको सरकार जुन जेन—जी जसलाई हामीले पनि सपोर्ट ग¥यौं । तिनीहरुको बलमा बनेको सरकारले जसरी हेरिराखेको । हेरिराखेको मात्रै होइन । यसलाई त पोलिटिकललाईज पनि गर्न खोजिएको छ । चुनाव आउँदैछ, सांसदहरुले कसरी खाए भन्ने देखाएर हामीले कटाएर विकासमा लगायौ भन्ने गरी जनतासँग बेचेर भोट माग्ने काम शुरु गरिसकेको सन्दर्भमा यसलाई विशेष किसिमले हेर्नुपर्छ भन्ने मैले महसुस गरेको छु ।’ नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले राष्ट्रिय सभालाई कमजोर बनाउने काम सरकारले गरिरहेको गुनासो गरिन् । उनले संसद र सांसदहरुको सेवा, सुविधा कटौति गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आक्रोश व्यक्त गरिन् ।

सांसद साहले भनिन्, ‘राष्ट्रिय सभालाई नीति निर्माणमा केन्द्रित गर्नका लागि व्यक्तिगत ढंगले हामी सदस्यहरु, समितिहरु मेहनत गर्नुपर्छ भन्ने मान्यताको आधारमा धेरै पटक हामीले छलफल पनि गरेका छौ, माग पनि गरेका छौँ । चाहे त्यो सरकारसँग होस्, चाहे त्यो हाम्रो सचिवालयसँग होस् । विज्ञहरु हामीलाई चाहिन्छ । त्यो खालको व्यवस्थापन हुनुपर्छ भनेर पनि हामीले भनेका छौँ । त्यो माग गरिरहँदा झन यो सभालाई कमजोर बनाउने गरी कतिपय कटौति भएका कुराहरु छन् । त्यसमा हाम्रो कन्सर्न छ भन्नेकुरा म अनुरोध गर्न चाहन्छु ।’

सांसदहरुले ठूल्ठूलो योजना बनाउने तर त्यसका लागि आवश्यक बजेट नदिएको पनि सरकारप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभएको छ । नेकपा एमालेकी सांसद विसीले सुदूरपश्चिम प्रदेशका ठूल्ठूला आयोजना सम्पन्न हुनेगरी तत्काल आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।
उनले भनिन्, ‘सुदूरपश्चिममा पनि ठूल्ठूला योजनाहरु बनाउने, आश्वासन दिने काम सरकारले गरेको छ । तर बजेट पर्याप्त नपारेका कारणले बन्नु योजनाहरु पनि नबनेको एउटा अप्ठयारो स्थिति त्यहाँ छ । दार्चुलामा १७ किलोमिटरमा तलबाट हुने काम माथिबाट ७० किलोमिटरमा गर्नेगरी त्यो काम अघि बढाइएको पाईयो । जसले गर्दा समयको पनि खर्च, बजेटको पनि खर्च भएको छ । हिजोका दिनमा ती गलत कुराहरु भएपनि अहिलेको सरकारले त्यसलाई सच्याउनु पर्दछ ।’
बैठकमा सुदूरपश्चिम प्रदेशमा सांसदहरुले गरेका अनुगमनको समेत समिक्षा गरिएको थियो ।

 

 

 

 

युक्रेनका लागि वार्ता अघि फ्रान्सले राख्यो कडा शर्त

पेरिस । फ्रान्सले रुससँगको युद्ध अन्त्यका लागि युक्रेनले कुनै भूभाग हस्तान्तरण गर्नुपर्ने विषयमा हुने कुनै पनि वार्ताअघि युक्रेनका लागि ‘बलियो सुरक्षा ग्यारेन्टी’ सुनिश्चित हुनुपर्ने स्पष्ट अडान लिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनको टोलीले मङ्गलबार यस्तो धारणा सार्वजनिक गरेको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत तथा युरोपेली नेताहरूसँग करिब चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ता गरेपछि म्याक्रोनका एक वरिष्ठ सल्लाहकारले भने, “हामी भूभागसम्बन्धी कुनै पनि छलफलमा प्रवेश गर्नु अघि युक्रेनका लागि बलियो सुरक्षा ग्यारेन्टी आवश्यक ठान्दछौँ ।”

स्रोतका अनुसार उनले भने, “ग्यारेन्टीको विषयमा केही प्रगति भएको छ । अमेरिकी समर्थनका रूपमा प्राप्त स्पष्टताका लागि धन्यवाद ।”

बर्लिनमा सम्पन्न वार्ताले युक्रेनका लागि तयार पारिँदै आएको अमेरिकी योजनालाई थप आकार दिइरहेको छ । प्रारम्भिक रूपमा उक्त योजना रुसका लागि अत्यन्तै अनुकूल मानिएको थियो । तर किएभ र युरोपेली साझेदारहरूले सुरक्षा ग्यारेन्टी तथा भूभागको संवेदनशील प्रश्नलाई समेट्दै त्यसमा संशोधन गराउने प्रयास गरिरहेका छन् ।

युक्रेनमा शीघ्र शान्ति स्थापना गर्ने बारम्बार प्रतिबद्धता जनाउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनमा जारी रुसको युद्ध अन्त्य गर्ने सम्झौता पहिलेभन्दा नजिक पुगेको दाबी गरेका छन् ।

सन् २०२२ मा सुरु भएको पूर्णस्तरीय रुसी आक्रमणविरुद्धको युक्रेनी प्रतिरक्षामा संयुक्त राज्य अमेरिका प्रमुख समर्थक रहँदै आएको भए पनि पछिल्लो समय राष्ट्रपति ट्रम्पको किएभप्रति असन्तुष्टिका सङ्केतहरू बढ्दै गएको देखिएको छ ।

बर्लिन वार्ताका क्रममा युरोपेली नेताहरूले रुसले कुनै सम्भावित युद्ध अन्त्य सम्झौता उल्लङ्घन नगरोस् भन्ने उद्देश्यले अमेरिका समर्थित सुरक्षा ग्यारेन्टीको एक हिस्साका रूपमा अन्तर्राष्ट्रिय बल तैनाथ गर्ने प्रस्तावसमेत अघि सारेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले वासिङ्टनले प्रस्ताव गरेको नयाँ सुरक्षा ग्यारेन्टीको प्रशंसा गरेका छन् । तर युक्रेनले रुसलाई कुन–कुन भूभाग हस्तान्तरण गर्नुपर्ने भन्ने विषयमा अझै गहिरो मतभेद रहेको उनले स्पष्ट पारेका छन् ।

रुसले युक्रेनका विभिन्न क्षेत्रहरू आफ्नो भएको दाबी गर्दै आएको छ, यद्यपि ती सबै भूभाग उसले पूर्ण रूपमा नियन्त्रणमा लिएको छैन ।

राष्ट्रपति ट्रम्पले युक्रेनले रुसलाई केही भूभाग सुम्पिनुपर्ने अवस्था अपरिहार्य भएको अभिव्यक्ति दिएका छन् । तर यस्तो सम्भावित परिणाम राष्ट्रपति जेलेन्स्कीका लागि पूर्णतः अस्वीकार्य रहेको युक्रेनी पक्षले स्पष्ट रूपमा जनाएको छ ।

धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज भएको छ । यसअघि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको पनि उम्मेदवारी खारेज भएको थियो । त्यसो त केही केन्द्रीय सदस्यहरु सर्वसम्मत हुने भएका छन् । एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार हालसम्म ११ जना सर्वसम्मत भएका छन् । त्यस्तै उपमहासचिवमा उम्मेदवारी दिएका एकसहित १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले समेत उम्मेदवारी फिर्ता लिएका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन आइतबारदेखि भृकुटीमण्डपमा जारी रहेको छ । एमालेको केन्द्रीय निर्वाच आयोगले निर्वाचन तालिकामा संशोधन गर्दै आज साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि एमाले अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिष्पर्धा हुँदैछ । विधान संशोधनपछि १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुँदैछ ।

 

 

 

 

हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई जेल

लाहोर । पाकिस्तानको एक आतङ्कवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ । उक्त सजाय एक वर्षभन्दा बढी समयअघि देशका तत्कालीन प्रधानन्यायाधीशको हत्याका लागि सार्वजनिक रूपमा आह्वान गरेको घटनासँग सम्बन्धित रहेको अदालतका अधिकारीहरू तथा प्रतिरक्षा पक्षका वकिलले मङ्गलबार जानकारी दिएका छन् ।

प्रतिबन्धित तहरीक–ए–लब्बैक पाकिस्तान(टिएलपी) पार्टीका नेता जहीरुल हसन शाहलाई गत वर्ष पक्राउ गरिएको थियो । उनीमाथि सामाजिक सञ्जालमा एक भिडियो प्रसारित गरेको आरोप लागेको थियो, जसमा तत्कालीन प्रधानन्यायाधीश काजी फैज इसाको टाउको काट्ने जो कोहीलाई पनि एक करोड पाकिस्तानी रुपैयाँ (करिब ३६ हजार अमेरिकी डलर)इनाम दिने घोषणा गरिएको थियो ।

प्रधानन्यायाधीश इसाले गत वर्ष ईशनिन्दासम्बन्धी मुद्दामा अल्पसङ्ख्यक अहमदी समुदायका एक व्यक्तिलाई जमानत दिएपछि कट्टरपन्थी धार्मिक समूहहरूको तीव्र आलोचनाको सामना गर्नुपरेको थियो । अहमदी धर्म इस्लामको एक शाखा मानिए पनि पाकिस्तानको संसद्ले सन् १९७४ मा अहमदी समुदायलाई औपचारिक रूपमा गैर–मुस्लिम घोषणा गरेको थियो । त्यसयता अहमदी समुदायका घर र पूजा स्थलहरू प्रायः सुन्नी उग्रवादी समूहहरूको आक्रमणको निशानामा पर्दै आएका छन्, जसले उनीहरूलाई विधर्मी ठान्ने गरेका छन् ।

प्रतिरक्षा पक्षका वकिल मकसुद–उल–हक तथा अदालतका अधिकारीहरूका अनुसार पूर्वी सहर लाहोरस्थित आतङ्कवाद विरोधी अदालतले सोमबार शाहलाई दोषी ठहर गरेको हो । अदालतले उनको अभिव्यक्ति र सार्वजनिक आह्वानले समाजमा घृणा फैलाएको र हिंसालाई प्रोत्साहन दिएको ठहर गर्दै कडा सजाय सुनाएको जनाएको छ ।

यो फैसला पाकिस्तान सरकारले टिएलपी पार्टीमाथि प्रतिबन्ध लगाएको दुई महिनाभन्दा पनि कम समयपछि आएको हो । गाजाको समर्थनमा आयोजित एक र्‍यालीका क्रममा पार्टीका समर्थकहरू र सुरक्षाकर्मीबीच घातक झडप भएपछि सरकारले उक्त पार्टीलाई प्रतिबन्धित गरेको थियो ।

ती झडपपछि टिएलपीका प्रमुख नेता साद रिजवी बेपत्ता भएका छन् । प्रहरीका अनुसार, पञ्जाब प्रान्तको राजधानी लाहोरबाट इस्लामाबादतर्फ मार्चको नेतृत्व गरिरहेका बेला अक्टोबरको सुरुआतमा सुरु भएको अशान्तिका क्रममा रिजवी पाकिस्तान प्रशासित काश्मीरतर्फ भाग्न सफल भएका थिए ।

यस घटनाक्रमले पाकिस्तानमा धार्मिक कट्टरपन्थ, अभिव्यक्ति स्वतन्त्रता र अल्पसङ्ख्यक समुदायको सुरक्षासम्बन्धी विषयहरू फेरि एकपटक गम्भीर बहसको केन्द्रमा ल्याएको छ ।

थाइल्यान्ड भन्छ – युद्ध रोक्न कम्बोडियाले ’पहिले’ युद्धविराम घोषणा गर्नु पर्छ

बैङ्कक ।  थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ ।

थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा “इमानदारीपूर्वक“ सहयोग गर्नुपर्ने बताएका छन् ।

यस महिना दक्षिण पूर्वी एसियाली छिमेकीहरू बिचको लडाइँले सैनिक र नागरिकहरू सहित कम्तिमा ३२ जनाको ज्यान लिएनुका साथै करिब आठ लाख विस्थापित भएको अधिकारीहरूले बताएका छन् ।

प्रत्येक पक्षले आत्म–रक्षा र नागरिकहरू माथि आक्रमणको आरोप लगाउँदै झडपलाई उक्साएकोमा अर्कोलाई दोष दिएका छन् ।

कम्बोडियाले भने हाल सम्म थाइल्यान्डको बयानमा कुनै प्रतिक्रिया दिएको छैन ।

यस वर्षको सुरुमा सीमा द्वन्द्वमा हस्तक्षेप गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता दुई देश शनिबार देखि युद्धविराम गर्न सहमत भएको दाबी गरेका थिए ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले आफ्नो देशले वासिङ्टनको सहभागितामा आसियान क्षेत्रीय अध्यक्ष मलेसियाको युद्धविराम पहललाई समर्थन गरेको बताएका छन् ।

तर पछिल्लो समयमा बैङ्ककले ट्रम्पको युद्धविराम दावीलाई अस्वीकार गरेको भने डिसेम्बर–७ देखि दैनिक पुनः लडाइँ जारी छ ।

 

‘पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौं’

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रिय सभा बैठक बोलाउने तयारी गरिएको बताएका छन् । मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिको हलको निर्माण कार्य सकिने बित्तिकै सो बैठक बोलाउने गरी आफूले केही दिनभित्र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने तयारी गरेको समेत बताए ।

अध्यक्ष दाहालले राष्ट्रिय सभा बैठक बोलाउने कुरामा सरकार असहमत नभएको पनि बताए । उनले बैठक सञ्चालनका लागि बिजनेसको भने अभाव हुने देखिएको बताए । करिव १० दिनसम्मका लागि विजनेस भएपनि अरु विजनेस नभएको अध्यक्ष दाहालको भनाई थियो । अध्यक्ष दाहालले भने, ‘पुसको १२ गते बैठक बोलाउँछु म । जसरी पनि त्यो काम पूरा गर भनेर ठेकदारलाई भनिएको छ । मलाई लाग्छ–१०, १२ गतेसम्म हल तयार हुन्छ । अलिकति आकार आएपछि प्रधानमन्त्रीसँग गएर कुरा गरेर सदन बोलाउने कुरामा अहिलेसम्म विमति छैन । अव के होला त्यो कार्यान्वयनमा जाला ? तर बैठक चाँही हामी १०-१२ गतेतिर बस्छौँ । तर अब सरकारसँग विजनेस केही पनि छैन । हामीसँग २-३ वटा विधेयक छन् ।’

उनले भने, ‘कि अब हामीले चलाउने नाममा आयोगका प्रतिवेदनहरु छन् । मन्त्री बोलाउने, छलफल गर्ने, बस्ने एउटा कुरा हो । तर त्यति धैरै विजनेशहरु छैन । अब उता गएको विधेयकहरु निष्क्रिय भईहाले । हामीसँग ४ वटा छन् । हामीसँग विधेयक नै कम छन । एउटा विधेयक अध्यादेशमार्फत आएको छ । त्यो आर्थिक विधेयक हो भने राष्ट्रिय सभालाई छलफल गर्ने अधिकार छैन । त्यो प्रतिनिधि सभामा मात्रै छलफल हुने हो । त्यसकारण हामीसँग १० दिन भन्दा बढि छलफल गर्ने विजनेस छैन । सरकारलाई विजेनसको बारेमा सोच्नुस् भनेर भनेको छु । जसोतसो चलाउनु पर्ला ।’ अध्यक्ष दाहालले राष्ट्रिय सभालाई चलाउनका लागि विजनेशको अभाव हुने अवस्था रहेको बताए ।

 

 

 

 

 

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बिचको युद्धको अन्त्य गर्न युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच बर्लिनमा चलिरहेको वार्ता शान्ति सम्झौता नजिक पुगेको बताएका छन् ।

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले संयुक्त राज्य अमेरिकाले जर्मनी, इटाली, फ्रान्स, बेलायत, पोल्याण्ड, नर्वे, डेनमार्क, फिनल्यान्ड र नेदरल्यान्ड्स लगायत युरोपेली नेताहरूबाट समर्थन“ प्राप्त गरेको र द्वन्द्वको अन्त्य हेर्न चाहेको बताएका छन् ।

उनीहरू अहिले रूसका राष्ट्रपति पुटिनसँग धेरै कुराकानी गरेर नजिक भएका छन् र मलाई लाग्छ हामी पहिले भन्दा अहिले नजिक छौं हामी धेरैको ज्यान बचाउन चाहन्छौँ “, ट्रम्पले भने ।

यसै बिच द्धन्द्धलार्ई अन्त्य गर्न चाहने युरोपेली नेताहरूबाट पनि ठुलो समर्थन प्राप्त भइरहेको उनले बताएका छन् ।

युक्रेनमा युद्धको समाधानका लागि वार्ता गर्न बर्लिनमा अमेरिका, युरोपेली र नेटो नेताहरू र जेलेन्स्कीबीच घन्टौँ लामो कूटनीतिक छलफल पछि ट्रम्पको टिप्पणी आएको हो ।

अल जजिराका अनुसार युरोपेली नेताहरू युक्रेनका लागि कुनै पनि पश्चिमी सुरक्षा ग्यारेन्टीको लागि सहमत भएका छन् ।

यस अघि युक्रेनी राष्ट्रपतिले पश्चिमाहरुको सुरक्षा ग्यारेन्टि भए युक्रेन आफ्नो नेटो सदस्यताको महत्वाकाक्षां त्याग्न तयार रहेको सङ्केत गरेका थिए ।

एमाले महाधिवेशन : साँझ ७ बजेबाट मतदान, ८० ‘भोटिङ मेशिन’ तयार

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान सुरु हुने भएको छ । यसअघि दिउँसो १२ बजेदेखि मतदान गर्ने कार्यतालिका भए पनि विद्युतीय भोटिङ मेशिनको कोडिङ मिलाउन समय लागेकाले निर्वाचन कार्यतालिका संशोधन गरिएको हो ।

पार्टी केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान आज साँझ ७ बजेदेखि भोलि (पुस २) बिहान १ बजेसम्म चल्नेछ । भृकुटीमण्डप आजसम्म मात्रै भाडामा लिइएकाले आजै मतदान र अधिकांश निर्वाचन प्रक्रिया सक्ने तयारी गरिएको स्थायी कमिटी सदस्य बिनोद श्रेष्ठले जानकारी दिए । एमालेले महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेशिन प्रयोग गर्नेछ । यद्यपि १०० वटा मेशिन ल्याइए पनि ८० वटा मात्र मतदानका लागि प्रयोग हुने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले बताए ।

महाधिवेशनमा कुल २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । ११ जना उम्मेदवार निर्विरोध चयन भइसकेका छन् भने बाँकी उम्मेदवारलाई मत दिनुपर्नेछ । एक प्रतिनिधिले औसतमा २ सय ९२ जनालाई मत दिनुपर्ने भएकाले एक जनाले मतदान गर्न कम्तीमा २५–३० मिनेट लाग्ने निर्वाचन आयोगको अनुमान छ । एक पटकमा ८० जना प्रतिनिधिले मतदान गर्न पाउने हुँदा सबै प्रतिनिधिको मतदान सकिन कम्तीमा १० देखि ११ घण्टा लाग्ने आयोगका सदस्यहरू बताउँछन् । त्यसअनुसार एमाले नेतृत्व चयनको निर्णायक प्रक्रिया आज रातभर चल्नेछ ।

 

 

एडीबीको १४ अर्ब ३८ करोड ऋण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर (करिव १४ अर्ब ३८ करोड बराबर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । गत मंसिर २५ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार एवम् सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिएका हुन् । ‘स्ट्रन्थेनिङ पब्लिक फाइनान्सियल म्यानेजमेण्ट एन्ड डेभलप्ड सर्भिस डेलिभरी कार्यक्रमको लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय भएको उनले बताए ।

बैठकले जेन—जी आन्दोलनका प्रतिनिधि र सम्माननीय प्रधानमन्त्रीबीच मंसिर २४ मा भएको सम्झौता अनुमोदन गर्ने र उक्त सम्झौता सम्वद्ध मन्त्रालयले उच्च प्राथमिकतासाथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । यस्तै, सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारु २ सय तथा भारु ५ सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने निर्णय गरेको छ ।

मंसिर २९ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरुः
–प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने ।
–स्ट्रन्थेनिङ पब्लिक फाइनान्सियल म्यानेजमेण्ट एण्ड डेभलप्ड सर्भिस डेलिभरी कार्यक्रमको लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर (करिव १४ अर्ब ३८ करोड बराबर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
–पवनकुमार शारदा र मुरारी लाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहा जिल्ला लहान नगरपालिकाको १—१५—१० विघा जग्गा तथा सोमा बनेको भवनको मधेस प्रदेश सरकारको रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालका नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर आर्थिक ऐन, २०८२ बमोजिम छुट दिने ।
–सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भा.रु. २०० तथा भा.रु. ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भा.रु. २५,००० को सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने ।
–आर्थिक वर्ष २०८२र८३ को बाँकी अवधिका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित सिंचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाको लागि अधिकृतस्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
–२०८२ पुस १२ देखि १४ गतेसम्म नेपालको काठमाडौंमा सञ्चालन हुने नेपाल(भारत संयुक्त कृषि कार्यसमूहको नवौं बैठकमा सहभागी हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिको संयोजकत्वको नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
–सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गर्ने ।
–युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने ।
–नेपाली सेनाका दुईजना महासेनानीको सहायक रथी पदमा र एकजना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने, छ जना उपरथीहरू र सातजना महासेनानीहरूको सरूवा गर्ने ।
–राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य पदमा प्रा. सुनीती श्रेष्ठ (हाडा) लाई नियुक्त गर्ने ।
–राजनीतिक दल तथा अन्य सरोकारवाला पक्षसँग संवाद, समन्वय र सहजीकरण गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने ।

मंसिर २५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
–नेपाल न्याय सेवाका सहसचिव पुष्कर सापकोटालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने ।
–समाज कल्याण परिषद्को सदस्य(सचिव पदमा श्री सरोजकुमार शर्मा, महोत्तरीलाई मनोनयन गर्ने ।
–जेन—जी आन्दोलनका प्रतिनिधि र सम्माननीय प्रधानमन्त्रीबिच मिति २०८२-८-२४ मा भएको सम्झौता अनुमोदन गर्ने र उक्त सम्झौता संवद्ध मन्त्रालयले उच्च प्राथमिकतासाथ कार्यान्वयन गर्ने ।
–जेन—जी आन्दोलनका प्रतिनिधि र सम्माननीय प्रधानमन्त्रीबिच मिति २०८२—८-२४ मा भएको सम्झौताबमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२/६र५ को निर्णय अनुसार गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने ।