`

जय नेपाल पार्टीमा ११ नयाँ केन्द्रीय सदस्य थपिए

काठमाडौं । धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले केन्द्रीय कार्यसमितिमा ११ जना नयाँ सदस्य थपेको छ।

पार्टीले बिहीबार विज्ञप्ति जारी गर्दै विधानअनुसार नयाँ सदस्यहरू मनोनयन गरिएको जानकारी दिएको हो।

नयाँ केन्द्रीय सदस्यमा सङ्खुवासभाका दिलनाथ गिरी, काठमाडौंका बिजेन्द्रलाल जोशी, बाँकेका ध्रुवराज वर्मा र नारायणप्रसाद शर्मा तथा भक्तपुरका मनोजकुमार सिलवाललगायत रहेका छन्।

पार्टीले थपिएका सबै सदस्यको नामसहितको विवरण सार्वजनिक गरेको जनाएको छ।

सूची हेर्नुहोस् :

१. दिलनाथ गिरी, केन्द्रीय सदस्य (संखुवासभा)

२. बिजेन्द्र लाल जोशी, केन्द्रीय सदस्य (काठमाडौं)

३. ध्रुव राज वर्मा, केन्द्रीय सदस्य (बांके)

४. नारायण प्रसाद शर्मा, केन्द्रीय सदस्य (बाँके)

५. पूर्व सहायक रथी मनोज कुमार सिलवाल, केन्द्रीय सदस्य (भक्तपुर)

६. सुष्मा पराजुली कोइराला, केन्द्रीय सदस्य (काठमाडौं)

७. अमिक परियार, केन्द्रीय सदस्य (मकवानपुर)

८. ऋषिराम बुढाथोकी, केन्द्रीय सदस्य (बागलुङ)

९. इश्वर राज सुवेदी, केन्द्रीय सदस्य (अछाम)

१०. धन बहादुर (गणेश) गिरी, आमन्त्रित केन्द्रीय सदस्य (भोजपुर)

११. राज प्रसाद जोशी, आमन्त्रित केन्द्रीय सदस्य (डोटी)

बालेनसँग वर्षमानको भेट

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसपछि जारी खोज तथा उद्धार अभियानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा बाढी प्रभावित क्षेत्रमा घाइतेको उपचार, राहत वितरण तथा प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग पुर्‍याउने विषयमा पनि कुराकानी भएको थियो।

त्यसैगरी, बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चारलगायत पूर्वाधारलाई तत्काल सञ्चालनमा ल्याउने र दीर्घकालीन रूपमा पुनःनिर्माण गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।

प्रधानमन्त्री शाहले यसअघि उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङसँग पनि भेट गरेका थिए।

घिसिङसँगको भेटमा समेत रसुवाको बाढी, जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धार र प्रभावित पूर्वाधार पुनः सञ्चालनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भोटेकोशीलाई ‘हिमालयन सुनामी’ भन्दै कूटनीतिक समुदाय गुहार्दै परराष्ट्रमन्त्री

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीबाट सिर्जित संकटबारे काठमाडौंस्थित कूटनीतिक समुदायलाई जानकारी गराउँदै उद्धारदेखि पुनर्निर्माणसम्म अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।

बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित ब्रिफिङमा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिसहित विश्व बैंक, एसियाली विकास बैंक र संयुक्त राष्ट्रसंघका प्रतिनिधि सहभागी थिए।

मन्त्री खनालले भदौ १० गते रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको बाढीले छोटो समयमै पानीसँगै माटो र गेग्रानको ठूलो बहाव ल्याएर तल्लो क्षेत्रमा व्यापक क्षति गरेको बताए। उनका अनुसार त्यसको असर त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्म पुगेको थियो।

रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै खनालले घटनाको प्रकृति बुझ्न प्राविधिक विज्ञको सहयोगमा अध्ययन भइरहेको जानकारी दिए।

उनले भोटेकोशीको बाढीलाई ‘हिमालयन सुनामी’सँग तुलना गर्दै यस्तो प्रकृतिको विपद् नेपालले पछिल्लो स्मृतिमा नदेखेको बताए।

विपद् लगत्तै सरकारका विभिन्न संयन्त्र सक्रिय बनाइएको दाबी गर्दै खनालले सेना, प्रहरी, सशस्त्र प्रहरी, तीनै तहका सरकारी निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक र स्थानीय बासिन्दा उद्धार तथा राहतमा खटिएको बताए।

उनका अनुसार खोजी, उद्धार र राहतका लागि मात्रै २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने, उपचार उपलब्ध गराउने र अत्यावश्यक सेवा पुनःस्थापनाको काम पनि समानान्तर रूपमा अघि बढाइएको उनले बताए।

बाढीमा बेपत्ता विदेशी नागरिकको खोजी र सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको खनालले बताए। परराष्ट्र मन्त्रालयले सम्बन्धित परिवार, नेपाल प्रहरी, विपद् व्यवस्थापनसम्बन्धी निकाय, पर्यटन बोर्ड र विदेशस्थित नेपाली नियोगसँग समन्वय गरिरहेको जानकारी उनले दिए।

मन्त्रालयमा छुट्टै आपत्कालीन संयन्त्र बनाएर बेपत्ता विदेशी नागरिकबारे प्राप्त विवरण प्रमाणीकरण, पहिचान तथा आवश्यक परे स्वदेश फिर्ताको प्रक्रियामा सहजीकरण भइरहेको उनको भनाइ छ।

विपद्को गम्भीरतालाई ध्यानमा राखेर विभिन्न मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त सहयोगप्रति सरकारले आभार व्यक्त गरेको छ।

भारत, चीन, अमेरिका, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, बेलायत, जर्मनी, क्यानडा, यूएई, कतारलगायत विभिन्न मुलुक तथा युरोपेली संघ, विश्व बैंक, एसियाली विकास बैंक र संयुक्त राष्ट्रसंघबाट सहयोग प्राप्त भएको खनालले बताए।

उक्त सहयोग उद्धार जनशक्ति तथा विशेषज्ञता, उपकरण, स्वास्थ्य र फरेन्सिक सामग्री, लजिस्टिक तथा आर्थिक सहायताका रूपमा आएको उनले जानकारी दिए।

बाढीबाट सडक, पुल, घर, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत मूल्यांकन भइरहेको मन्त्री खनालले बताए।

क्षतिको वास्तविक आकार र पुनःस्थापना तथा पुनर्निर्माणमा आवश्यक पर्ने रकमको यकिन भएपछि अन्तर्राष्ट्रिय साझेदारसँग थप सहयोग मागिने उनको भनाइ छ। प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् प्रभावित क्षेत्र घोषणा गरिएको पनि उनले जानकारी दिए।

विदेशी सहयोगलाई पारदर्शी र निश्चित उद्देश्यमा खर्च गर्ने प्रतिबद्धता जनाउँदै खनालले आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत परिचालन भइरहेको बताए। विपद्का बेला ठगी गर्ने प्रयास हुनसक्ने भन्दै नक्कली क्यूआर, लिंक र बैंक खाताबाट सावधान रहन पनि उनले आग्रह गरे।

भोटेकोशी बाढीको प्रभाव केही जिल्लाका निश्चित क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै खनालले देशका अन्य भूभाग सामान्य रहेको सन्देश दिएका छन्।

देशभरका विमानस्थल सञ्चालनमा रहेको तथा काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, जनकपुर, अन्नपूर्ण, सगरमाथा र बर्दियालगायत प्रमुख पर्यटकीय क्षेत्र पर्यटकका लागि खुला रहेको उनले बताए।

पर्यटन स्थानीय समुदायको आयआर्जनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले विपद्का कारण सम्पूर्ण नेपाल असुरक्षित रहेको सन्देश नजान दिन कूटनीतिक नियोगलाई सहयोग गर्न उनले आग्रह गरे।

मन्त्री खनालले भोटेकोशी विपद्लाई तत्कालको मानवीय संकटमा मात्र सीमित गरेर हेर्न नहुने बताए। हिमालय क्षेत्रमा बढिरहेको तापक्रम र जलवायु परिवर्तनका कारण पर्वतीय मुलुकमा विपद्को जोखिम बढ्दै गएको उनको भनाइ छ।

विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि जलवायु परिवर्तनको असर भने हिमाली क्षेत्रका नेपाली समुदायले ठूलो रूपमा भोगिरहेको उनले बताए।

भोटेकोशीको विपद्ले हिमालयको संवेदनशीलता फेरि उजागर गरेको उल्लेख गर्दै खनालले यस विषयमा अन्तर्राष्ट्रिय समुदायको थप ध्यान आवश्यक रहेको बताए।

विपद्को सामना गर्न राष्ट्रिय स्रोतसाधन परिचालनसँगै अन्तर्राष्ट्रिय साझेदारसँगको सहकार्यलाई निरन्तरता दिने बताउँदै उनले आगामी दिनमा पनि कूटनीतिक समुदायलाई अवस्थाबारे नियमित जानकारी गराउने प्रतिबद्धता जनाए।

फेरि तीजमा विष्णु माझीको धमाका, २४ घण्टामै ८ लाख भ्युज

काठमाडौं। तीज नजिकिँदै गर्दा गायिका विष्णु माझीको नयाँ गीत ‘घरबार’ सार्वजनिक भएको छ।

हरेक वर्ष तीज गीतमार्फत चर्चामा आउने माझीको यस वर्षको गीत ‘पुतलीको भट्टी’ शृंखलाको २२औँ भागका रूपमा बुधबार साँझ सार्वजनिक गरिएको हो।

सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतमा विष्णु माझीले स्वर दिएकी छन्। ‘घरबार’ले विवाहपछि महिलाले भोग्ने पारिवारिक जीवन, भावना, सुख-दुःख र सम्बन्धका उतारचढावलाई गीत तथा भिडियोमार्फत प्रस्तुत गरेको छ।

करिब ११ मिनेट लामो भिडियोमा वैदेशिक रोजगारीको कथासमेत जोडिएको छ। विदेशमा रहेका श्रीमान् दुर्घटनामा परेपछि श्रीमतीले सामना गर्नुपर्ने पीडा, चिन्ता र पारिवारिक वेदनालाई कथानकको मुख्य हिस्साका रूपमा देखाइएको छ।

भिडियोमा विष्णु माझीका यसअघिका गीतमा समेत देखिइसकेकी मोडल ललिता पौडेलसँगै सुन्दरमणि अधिकारी स्वयंले अभिनय गरेका छन्। भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्।

‘घरबार’ सुन्दरमणि अधिकारीकै निर्माण तथा निर्देशनमा तयार भएको हो। शम्भु चालिसेको छायांकन रहेको भिडियो मनोज कार्कीले सम्पादन गरेका छन्।

गीत सार्वजनिक भएको केही घण्टामै दर्शकको राम्रो प्रतिक्रिया देखिएको छ। बिहीबार दिउँसोसम्म अर्थात् २४ घण्टा नपुग्दै ‘घरबार’को भिडियो करिब ८ लाख पटक हेरिएको छ।

हरेक तीजमा विष्णु माझीको गीतको प्रतीक्षा गर्ने दर्शकका लागि यसपटक ‘घरबार’ले फेरि उस्तै उत्सुकता जगाएको देखिन्छ।

 

 

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो।

बैठकमा पछिल्लो समय रसुवामा आएको बाढीबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा छलफल हुने बताइएको छ। साथै सरकारका नियमित कामकारबाही र समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ।

बालेनले कुलमानलाई के भने? [भिडियाे]

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा बिहीबार भएको भेटमा घिसिङले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या र सरकारले तत्काल गर्नुपर्ने कामबारे सुझाव दिएका हुन्।

घिसिङ नेतृत्वको टोलीले बाढी प्रभावित विभिन्न क्षेत्रमा पुगेर उद्धार, राहत तथा पुनर्स्थापनाको अवस्थाबारे जानकारी लिएको थियो। सोही क्रममा प्राप्त विवरण र अनुभव प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको घिसिङले बताए।

‘विपद्को अवस्थामा हामीले फिल्डमा भिजिट गरेर धेरै ठाउँमा देखेका, बुझेका र गर्नुपर्ने विषयमा उहाँहरूलाई दिने सुझावका लागि भेटघाट गरेका हौं,’ संचारकर्मीसँगको कुराकानीमा घिसिङले भने। 

प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा उनले विपद्को अवस्थामा फिल्डमा देखिएका विषयका आधारमा सरकारलाई लिखित तथा मौखिक रूपमा सुझाव दिएको जानकारी दिए।

उनका अनुसार विशेषगरी उद्धार, राहत र विस्थापितको पुनर्स्थापनाका विषयमा सरकारलाई समग्र सुझाव दिइएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकको उद्धारबारे पनि चासो राखेका थिए। सुरुङमा फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अपनाउनुपर्ने उपायबारे घिसिङको टोलीले आफूले बुझेका विषय प्रधानमन्त्रीसमक्ष राखेको थियो।

‘मुख्य गरेर सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने भन्नेबारे उहाँहरूको जिज्ञासा थियो,’ उनले भने, ‘त्यससम्बन्धमा हामीले बुझेका र गर्नुपर्ने कुराहरू राखेका छौं ।’

घिसिङका अनुसार प्रधानमन्त्री शाहले सुरुङभित्र फसेका नागरिकको उद्धारलाई प्राथमिकतामा राख्दै आवश्यक सबै स्रोतसाधन परिचालन गरेर भए पनि उद्धार अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

घिसिङले प्रधानमन्त्रीले जुनसुकै अवस्थामा पनि आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गरी उद्धार कार्य अघि बढाउने बताएको जानकारी दिए।

कांग्रेसले बोलायो अनुशासन समिति बैठक, के गर्ला देउवा पक्षलाई कारबाही?

काठमाडाैं। देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी थालेपछि नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो।

कांग्रेस स्रोतका अनुसार बैठक दिउँसो २ बजेबाट सुरु हुनेछ। बैठकमा समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए।

पूर्वसभापति शेरबहादुर देउवा समूहले मंसिरमा समानान्तर महाधिवेशन गर्ने कार्यतालिका ल्याउने तयारी गरिरहेका बेला कांग्रेसले अनुशासन समितिको बैठक बोलाएपछि पार्टीभित्र थप राजनीतिक तरंग सिर्जना भएको छ।

देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी अघि बढाइरहेका बेला सभापति गगन थापा पक्षले त्यसलाई कसरी लिन्छ र अनुशासन समितिमार्फत के कस्तो कदम चाल्छ भन्ने चासो बढेको छ।

देउवा पक्षका गतिविधिलाई पार्टीको विधान र अनुशासनविपरीत ठहर गर्दै कारबाहीको प्रक्रिया अघि बढाउने सम्भावनासमेत चर्चामा आएको छ। यद्यपि, अनुशासन समितिको बैठकमा कुन-कुन विषयमा छलफल हुन्छ र कस्तो निर्णय हुन्छ भन्ने स्पष्ट भइसकेको छैन।

यसैबीच कांग्रेसले शनिबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समिति बैठकसमेत बोलाएको छ। अनुशासन समिति र कार्यसम्पादन समिति बैठक लगातार बोलाइनुलाई कांग्रेसभित्र बढ्दै गएको विवाद व्यवस्थापन गर्ने प्रयासका रूपमा हेरिएको छ।

ग्यास लिन साल्ट ट्रेडिङमा उपभोक्ताको लामो लाइन [तस्वीरहरू]

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेपछि अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुन थालेको छ।

बिहीबार कालीमाटीस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा खाना पकाउने ग्यास लिन पुगेका उपभोक्ताहरू लामो लाइनमा बसेका छन्।

पहिरो जानुअघिदेखि नै ग्यासका लागि घण्टौँ कुर्नुपर्ने अवस्था रहेकोमा राजमार्ग अवरुद्ध भएपछि आपूर्ति थप प्रभावित हुने देखिएको छ।

 

तस्बिर :नेपाल फोटो लाइब्रेरी

सर्वोच्चमा आगो, तीन दराजका मिसिल खरानी

काठमाडौं। सर्वोच्च अदालतको नयाँ भवनस्थित अभिलेख शाखामा गएराति आगलागी भएको छ।

राति करिब साढे १२ बजे भुइँ तलामा रहेको अभिलेख शाखाबाट धुवाँ र आगो देखिएपछि तत्काल दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको सर्वोच्च प्रशासनका एक कर्मचारीले बताएका छन्।

प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। काठमाडौं महानगरपालिकाको दमकलले तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको ती कर्मचारीले जनआस्थालाई बताए।

आगलागीका कारण अभिलेख शाखामा रहेका तीनवटा स्टिल दराजमा राखिएका प्रमाण तथा मिसिल जलेका छन्। कुन-कुन मुद्दा तथा अभिलेखमा क्षति पुगेको हो भन्ने विवरण भने खुलाइएको छैन।

यस घटनाले पछिल्लो समय संवेदनशील बनेका न्यायिक अभिलेखको सुरक्षामाथि समेत प्रश्न उठाएको छ। विशेषगरी जेनजी आन्दोलनका क्रममा भएका घटना, त्यससँग सम्बन्धित उजुरी, प्रमाण तथा मुद्दाका अभिलेख सुरक्षित छन् कि छैनन् भन्ने विषयमा चासो बढेको छ।

यद्यपि, आगलागीमा जेनजी आन्दोलनसँग सम्बन्धित कुनै मिसिल वा प्रमाण नै जलेको हो भन्ने पुष्टि भइसकेको छैन। जलेका अभिलेखको पहिचान र क्षतिको विवरण खुलेपछि मात्रै त्यसबारे स्पष्ट हुने प्रशासनले जनाएको छ।

‘राति साढे १२ बजेतिर अभिलेख शाखाबाट आगलागी भएको जानकारी आयो। प्रारम्भिक रूपमा विद्युत् सर्ट भएको देखिएको छ। दमकल तत्काल बोलाएर आगो नियन्त्रणमा लिइयो,’ ती कर्मचारीले भने, ‘तीनवटा स्टिल दराजमा राखिएका प्रमाण तथा मिसिल जलेका छन्।’

आगलागीको कारण र क्षतिको थप विवरणबारे अनुसन्धान भइरहेको छ।

नेपालसँग मलेसिया ६ विकेटले पराजित

काठमाडौं। एसीसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको छ।

बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा मलेसियाले दिएको १०२ रनको सामान्य लक्ष्य नेपालले ४ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए। उनले ६८ बलमा उक्त रन जोडे। इशान पाण्डेले २० तथा दिपेन्द्रसिंह ऐरीले १२ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०१ रनमै अलआउट भएको थियो। मलेसियाका लागि कप्तान सैयद अजिजले ३०, अकिल वहिदले २४, विरनदीप सिंहले १४ तथा श्याहदत रम्लीले १३ रन बनाए।

नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। ललित राजवंशीले दुई तथा सन्दीप लामिछाने, हेमन्त धामी र दिपेन्द्रसिंह ऐरीले समान एक-एक विकेट लिए।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो। लगातार दोस्रो जितसँगै नेपालले प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाएको छ।

कम्पनी रजिष्ट्रार कार्यालयमा मनोमानी चल्छ कि दादागिरी?

काठमाडाैं। कम्पनी रजिष्ट्रार कार्यालयमा अहिले सेवा लिन जाने नागरिकलाई कहिलेकाहीँ आफू सरकारी कार्यालयमा आफ्नो समस्या लिएर गएको हो कि कसैसँग अनुमति माग्न गएको हो भन्ने छुट्याउनै गाह्रो हुने अवस्था देखिन्छ।

आफ्नो कम्पनीसँग सम्बन्धित काम लिएर कार्यालय जाने नागरिक, कम्पनीका प्रतिनिधि वा व्यवसायीले सम्बन्धित शाखा वा कर्मचारीसँग भेटेर आफ्नो समस्या राख्न पाउनु सामान्य कुरा हो। तर अहिले कार्यालयको गेटदेखि नै सेवाग्राहीले विभिन्न प्रश्न, रोकतोक र झन्झट व्यहोर्नु परेको छ।

‘किन जानुभएको? के काम छ? कसलाई भेट्न जानुभएको? तल आउनुस्। पहिले अनुमति लिनुस्।’

सुरक्षाका लागि यस्ता प्रश्न सोध्नु नराम्रो कुरा होइन। कार्यालयमा को आयो, किन आयो भन्ने सामान्य जानकारी लिनु सुरक्षाकर्मीको जिम्मेवारी पनि हो। तर प्रश्न सोध्ने तरिका र सेवाग्राहीसँग गरिने व्यवहार कस्तो छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

कहिलेकाहीँ गेटमा गरिने व्यवहार हेर्दा सेवाग्राहीले आफू कुनै गल्ती वा अपराध गरेर कार्यालयमा पुगेको जस्तो महसुस गर्नुपर्ने अवस्था आउँछ। आफ्नो कम्पनीको काम लिएर सरकारी कार्यालय पुगेको नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने होइन र?

व्यवसाय गर्ने नागरिकलाई राज्यले सहयोग र सहजीकरण गर्नुपर्ने हो। उनीहरूलाई अनावश्यक मानसिक तनाव दिने होइन।

नेपालमा धेरै नागरिक आफ्नै देशमा व्यवसाय गर्न चाहन्छन्। कम्पनी खोल्छन्, कर तिर्छन्, कर्मचारी राख्छन्, विभिन्न सरकारी निकायलाई शुल्क तथा दस्तुर बुझाउँछन्। उनीहरूले राज्यको नियम पालना गरेर व्यवसाय गरिरहेका हुन्छन्।

त्यसैले त्यही व्यवसायसँग सम्बन्धित काम लिएर सरकारी कार्यालय पुग्दा उनीहरूले सहज र सम्मानजनक व्यवहार पाउने कि अपमानित भएको महसुस गर्ने?

‘माथि जान मिल्दैन’
तर किन?

म स्वयम् पनि कम्पनी रजिष्ट्रारको कार्यालयमा पटक-पटक जाने गरेको छु। त्यसैले त्यहाँको अवस्था केही नजिकबाट देखेको छु। मलाई लाग्छ, समस्या कुनै एउटा व्यक्तिको मात्र होइन, कार्यालयको व्यवहार र प्रक्रियासँग पनि जोडिएको विषय हो।

केही समयअघि कम्पनी सम्बन्धी कामका लागि कार्यालयको माथिल्लो तलामा जानुपर्ने भयो। गेटमा रोकिएपछि मैले सामान्य रूपमा भनेँ, ‘हुन्छ सर, म जान्छु।’

तर त्यसपछि पनि ‘माथि जानुअघि फोन गर्नुस्, पहिले अनुमति लिनुस्’ भन्ने कुरा आयो।

मैले पनि विवाद गर्न खोजेको थिइनँ। मैले यति मात्र भनेँ, ‘ठीक छ सर, हजुर फोन गरिदिनुस्। समस्या के हो भन्नुस्। अनुमति चाहिने हो भने अनुमति लिएर जान्छु, नदिए म जाँदिनँ।’

तर मेरो कुरा राम्रोसँग नबुझी उल्टै ‘दादागिरी नदेखाउनुस् तपाईं’ भन्ने शैलीमा जवाफ आयो।

त्यसपछि मनमा एउटा प्रश्न आयो-नियम छ भने देखाइदिए हुँदैन र? अनुमति लिनुपर्ने व्यवस्था छ भने त्यसको प्रक्रिया बुझाइदिए हुँदैन र? माथिल्लो तलामा जान रोक्ने निर्णय हो भने त्यसको कारण बताइदिए हुँदैन र?

सेवाग्राहीले कारण सोध्दा उल्टै कठोर शब्द प्रयोग गर्नु कति उचित हो?

सरकारी कार्यालयमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मीको आफ्नै जिम्मेवारी हुन्छ। कार्यालयको सुरक्षा, अनुशासन र व्यवस्थापन कायम राख्नु उनीहरूको कर्तव्य हो। त्यसमा कसैको आपत्ति हुँदैन।

तर जिम्मेवारी नागरिकसँग कस्तो व्यवहार गर्ने हो भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। अधिकार पाउनु भनेको सेवाग्राहीसँग आफूखुसी बोल्ने वा मनलाग्दी व्यवहार गर्ने छुट पाउनु होइन।

त्यसैले अहिले प्रश्न उठ्छ-यो वास्तवमै कार्यालयको व्यवस्थापनको कमजोरी हो कि दादागिरी? सरकारी कार्यालय भनेको नागरिकलाई डराउने ठाउँ होइन। नागरिकको समस्या सुन्ने र समाधान गर्ने ठाउँ हो।

एउटा कुरा बुझ्न आवश्यक छ-नागरिक सरकारी कार्यालयमा कसैको व्यक्तिगत अनुग्रह माग्न जाँदैन। उसले आफ्नो कानुनी र प्रशासनिक काम गराउन जान्छ। त्यसैले उसले सम्मानपूर्वक सेवा पाउने अधिकार छ।

कार्यालयमा सुरक्षा र अनुशासन चाहिन्छ, तर त्यससँगै सेवाग्राहीप्रति सम्मान र सहज व्यवहार पनि चाहिन्छ। नियम आवश्यक छ, तर नियमको नाममा नागरिकलाई अनावश्यक दुःख दिनु आवश्यक छैन। अधिकार आवश्यक छ, तर अधिकारको नाममा दादागिरी स्वीकार्य हुँदैन।

सरकारलाई गगनको सुझाव : एउटा गल्ती ढाक्न अर्को गल्ती नगर्नू

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङमा फसेकाहरूको उद्धारमा भएको ढिलाइलाई ढाकछोप गर्न खोज्दा सरकार थप गल्तीको सिकार नबनोस् भन्दै सचेत गराएका छन्।

सुरुङमा फसेकाहरूका परिवारका सदस्यले आफूलाई लगातार फोन गरिरहेको भन्दै थापाले अहिले सरकारको पहिलो प्राथमिकता जसरी हुन्छ जीवन बचाउने प्रयास हुनुपर्ने बताए।

उनले भने, ‘बाहिरको सहयोग लिनुपर्छ भनेर हामीले समयमै भनेका थियौँ। तर, समयमा सहयोग माग्ने काम भएन, चुक्ने कुरा भइसक्यो। अब फेरि गल्तीलाई ढाकछोप गर्ने होइन, जे गर्न सकिन्छ सबैभन्दा राम्रो प्रयास गर्नुपर्छ। एउटा गल्ती ढाक्न अर्को गल्ती नगर्नुहोला। एउटा मात्र जीवन बचाउन सकियो भने पनि त्यो धेरै ठूलो कुरा हुन्छ।’

थापाले बाढीपहिरोमा ज्यान गुमाएकाहरूको शव व्यवस्थापनमा समेत राज्य गम्भीर र संवेदनशील हुनुपर्ने बताए। आफन्तको सास भेटिने आशा कमजोर भए पनि कम्तीमा शव भेटियोस् भनेर परिवारले खोजी गरिरहेको उल्लेख गर्दै उनले उनीहरूको पीडालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

प्रभावित क्षेत्रमा पुग्दा स्थानीय जनप्रतिनिधिले गरेको काम प्रशंसनीय देखिएको पनि थापाले बताए। खोजी तथा उद्धारदेखि राहत र पुनर्निर्माणसम्मका काममा प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ।

राहतका नाममा सामग्री थुपार्नेभन्दा आवश्यकताअनुसार व्यवस्थापन गर्नुपर्नेमा पनि उनले जोड दिए। उनका अनुसार सहयोग गर्न चाहनेको संख्या ठूलो भए पनि प्रभावित क्षेत्रमा के चाहिएको छ र के पठाइँदैछ भन्नेबीच तालमेल मिलाउन आवश्यक छ।

‘सहयोग गर्न सक्नेहरूले सहयोग गरौँ। सकिँदैन भने पनि पीडितलाई थप चोट पुग्ने गरी कटु वचन नबोलौँ,’ थापाले भने, ‘तल फिल्डको अवस्था बाहिरबाट सोचेभन्दा निकै भयावह छ।’

थापाले बाढीपहिरोपछि पार्टीको तर्फबाट भएका स्थलगत अध्ययन र प्राप्त विवरणलाई समेटेर छिट्टै विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने बताए। उक्त प्रतिवेदन सरकारलाई समेत बुझाइने उनको भनाइ छ।

आयु सकियो, फेरि ‘झर्‍यो कृष्णभीर…’

धादिङ। पृथ्वी राजमार्गमा यात्रा गर्नेहरूका लागि कृष्णभीर कुनै सामान्य सडकखण्ड होइन। काठमाडौँबाट धादिङ हुँदै चितवन, तनहुँ, कास्की वा पश्चिम नेपालतर्फ लागेका यात्रुका लागि कृष्णभीर कटेपछि बल्ल यात्रा सहज भएको अनुभूति हुने समय थियो।

२०५५ देखि २०६० सालको बीचमा कृष्णभीरमा पटकपटक पहिरो खसिरहन्थ्यो। कहिले घण्टौँ सडक बन्द हुन्थ्यो, कहिले दिनौँसम्म यातायात ठप्प हुन्थ्यो। यात्रुहरू सडक खुल्ने प्रतीक्षामा घण्टौँ बस्न बाध्य हुन्थे। पहिरोको डर र जामको सास्ती कृष्णभीरको परिचयजस्तै बनेको थियो। त्यही समयको पीडा गीतमा समेत पोखियो।

‘झर्‍यो, झर्‍यो, झर्‍यो कृष्णभीर…’ भन्ने गीतले तत्कालीन कृष्णभीरको अवस्थालाई जनमानसमा अझ गहिरो गरी स्थापित गर्‍यो। कृष्णभीरको पहिरोलाई आधार बनाएर ‘कृष्णभीरको पहिरोले माया आउने बाटो छेकियो’ र ‘कृष्णभीरमा जाम’ जस्ता गीतसमेत बने। कृष्णभीरको पहिरो केवल सडकको समस्या थिएन। यो यात्रासँग जोडिएको त्रास, प्रतीक्षा र अनिश्चितताको कथा थियो।

दुई दशकअघि गरिएको उपचार
लगातारको पहिरोबाट आजित बनेपछि २०६० सालमा कृष्णभीरमा पहिरो नियन्त्रणको काम भयो। पहिरो रोक्न पर्खाल तथा अन्य संरचना निर्माण गरिए। त्यसपछि कृष्णभीरमा पहिरोको समस्या धेरै हदसम्म नियन्त्रणमा आयो र पृथ्वी राजमार्गमा यात्रा गर्नेहरूले राहत पाए।

तर ती संरचनाको आयु २० वर्ष निर्धारण गरिएको थियो।

समय बित्दै गयो। संरचना बनेको दुई दशकभन्दा बढी भइसक्यो। र अहिले फेरि कृष्णभीरमा पहिरो खसेको छ।

यसपटकको पहिरोको कारण भने विगतको भन्दा केही फरक छ। भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीको बहाब बढ्यो। नदीले सतहबाटै जमिन कटान गर्न थालेपछि गत भदौ १४ गते कृष्णभीरमा नदी किनारबाटै जमिन भासियो। त्यसपछि पृथ्वी राजमार्गको यो खण्डमा आवागमन अवरुद्ध छ।

पहिरोका कारण मुग्लिन-नौबिसे सडकखण्ड हुँदै यात्रा गर्ने हजारौँ यात्रु प्रभावित भएका छन्। काठमाडौँ, धादिङ हुँदै चितवन, तनहुँ, कास्की तथा पश्चिम नेपालका विभिन्न जिल्लातर्फ जाने र आउने सवारी साधनको आवागमनमा यसको प्रत्यक्ष असर परेको छ।

फेरि उही कृष्णभीर?
कृष्णभीरको अहिलेको अवस्थाले एउटा पुरानो प्रश्न फेरि अगाडि ल्याएको छ- के हामीले कृष्णभीरको समस्या समाधान गरेका थियौँ कि केही वर्षका लागि मात्र टारेका थियौँ?

२०६० सालमा बनाइएका संरचनाको आयु सकिएपछि अहिले फेरि सडक नै जोखिममा परेको छ। पहिरो खसेको स्थानमा तत्काल सडक सञ्चालनमा ल्याउनसमेत सहज देखिँदैन। नदीको कटान, भौगोलिक बनावट र कमजोर जमिनका कारण सामान्य सडक मर्मतले मात्रै दीर्घकालीन समाधान दिन नसक्ने देखिन्छ।

कृष्णभीरमा फेरि समस्या बल्झिएपछि पुराना दिन सम्झनेहरू पनि छन्। कुनै समय यात्रुहरू कृष्णभीर कटेपछि मात्रै गन्तव्यसम्म पुगिनेमा ढुक्क हुन्थे। पहिरो खस्नेबित्तिकै सडकमा गाडीको लाम लाग्थ्यो। यात्रुहरू घण्टौँसम्म बाटो खुल्ने प्रतीक्षामा बस्थे।

त्यही अवस्थालाई समेटेर बनेका गीतहरूले कृष्णभीरलाई एउटा सडकखण्डभन्दा माथि उठाएर नेपाली जनजीवनको स्मृतिको हिस्सा बनाएका थिए। दिलीप रायमाझी र झरना थापा अभिनित चलचित्र ‘इन्द्रेणी’मा समावेश ‘झर्‍यो, झर्‍यो, झर्‍यो कृष्णभीर… कृष्णभीर कटेसी छैन मनमा कुनै पिर’ गीतले त्यही समयको अवस्थालाई सम्झाउँछ। २०६० सालमा प्रदर्शन भएको उक्त चलचित्रका लागि शम्भुजीत बास्कोटा र रमाना श्रेष्ठले गाएको यो गीत अहिले पनि युट्युबमा सुन्न सकिन्छ।

कृष्णभीरकै पहिरोलाई केन्द्रमा राखेर ‘कृष्णभीरको पहिरोले माया आउने बाटो छेकियो’ बोलको गीतसमेत बनेको छ। कृष्ण देवकोटा, दुर्गा रायमाझी र सर्मिला गुरुङले गाएको उक्त गीतले पनि कृष्णभीरलाई पहिरो र अवरोधसँग जोडेर प्रस्तुत गरेको थियो। बीमाकुमारी दुरा र मिलन लामाको स्वरमा रहेको ‘कृष्णभीरमा जाम’ गीतले पनि त्यही समयको सडक अवस्थालाई सम्झाउँछ।

भदौमै सडक खुल्ला त?
समस्या फेरि दोहोरिएपछि अब तत्काल सडक खुलाउने चुनौती सरकारसामु छ। प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै कृष्णभीरको सडक मर्मत गरेर भदौ महिनाभित्रै सञ्चालनमा ल्याइने दाबी गरेका छन्। तत्कालका लागि सडक सञ्चालनमा ल्याउनु आवश्यक पनि छ, किनकि पृथ्वी राजमार्गको यो खण्डले राजधानीलाई देशका ठूलो भूभागसँग जोड्छ।

तर प्रश्न सडक खुलाउने मात्र होइन। कृष्णभीरको समस्या फेरि केही वर्षपछि नदोहोरियोस् भन्ने हो भने यसको दीर्घकालीन समाधान खोज्नुपर्ने देखिन्छ। नदीले सडकको आधार नै काट्ने अवस्था आएको ठाउँमा केवल पहिरो पन्छाएर सडक कालोपत्रे गर्नु पर्याप्त नहुन सक्छ।

भौगोलिक अवस्था र नदीको बहाबलाई ध्यानमा राखेर नयाँ प्रविधि, बलियो संरक्षण संरचना वा वैकल्पिक मार्गबारे अध्ययन गर्नुपर्ने आवाजसमेत उठिरहेको छ। कतिपय प्राविधिकले कृष्णभीरलाई नै छाडेर अर्को रुट प्रयोग गर्नुपर्ने सुझावसमेत दिइरहेका छन्।

किनकि कृष्णभीरको कथा नयाँ होइन।

दुई दशकअघि पनि पहिरो थियो। त्यसपछि संरचना बन्यो। संरचनाले दुई दशक सडक जोगायो। अहिले त्यसको आयु सकिँदा फेरि उही ठाउँमा समस्या फर्किएको छ।

त्यसैले अहिले कृष्णभीरमा खसेको पहिरो केवल बाटोको अवरोध होइन, दुई दशकअघि गरिएको समाधान कति दिगो थियो भन्ने प्रश्न पनि हो।

कुनै समय गीतमा गुञ्जिएको थियो-‘झर्‍यो, झर्‍यो, झर्‍यो कृष्णभीर…’ समय फेरिएको छ। प्रविधि फेरिएको छ। सडकको स्वरूप फेरिएको छ। तर कृष्णभीरको समस्या फेरि उही ठाउँमा आइपुगेको छ।

श्रम संस्कृतिको राहत कोषमा कति भयो जम्मा?

काठमाडौं। विपद्मा परेकालाई राहत दिने भन्दै श्रम संस्कृति पार्टीले थालेको अभियानको कोषमा हालसम्म ६ लाख ४९ हजार ८ सय ६३ रुपैयाँ जम्मा भएको छ।

पार्टीका प्रदेश अध्यक्ष प्रताप राईका अनुसार उक्त रकम प्रदेश सदस्य तथा पार्टीका अन्य शुभेच्छुकबाट संकलन भएको हो।

बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले पार्टीले राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ।

संकलित रकमबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री खरिद गरिने अध्यक्ष राईले बताएका छन्। उनले पार्टीका केन्द्रीय अध्यक्षको नेतृत्वमा ती सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएर वितरण गरिने बताए।

राहत वितरण गर्दा पहुँचका आधारमा होइन, वास्तविक आवश्यकता हेरेर प्रभावित नागरिकसम्म सामग्री पुर्‍याउने पार्टीको दाबी छ।

एसीसी प्रिमियर कपः नेपाल जीत नजिक

काठमाडाैं। एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपाल जीत नजिक पुगेको छ। १०२ रनको सामान्य लक्ष्य पाएको नेपालले यो समाचार तयार पार्दासम्म १८ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा ८७ रन जोडेको छ। 

नेपालका लागि अर्जुन कुमाल ५८ बलमा ३९ रन बनाएर खेलिरहेका छन् भने रोहित पौडेल १५ बलमा १० रन बनाएका छन्।  इशान पाण्डे २० रन बनाएर पेभिलियन फर्किए।  

बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०१ रनमै अलआउट भएपछि नेपालले १०२ रनको सामान्य लक्ष्य पाएको छ।

मलेसियाका लागि कप्तान सैयद अजिजले सर्वाधिक ३० रन बनाए। अकिल वहिदले २४, विरनदीप सिंहले १४ तथा श्याहदत रम्लीले १३ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। ललित राजवंशीले दुई विकेट लिँदा सन्दीप लामिछाने, हेमन्त धामी र दिपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट हात पारे।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि नेपाल जित निकाल्दै प्रतियोगितामा आफ्नो पकड बलियो बनाउने लक्ष्यमा छ।

राहत सामग्री बोकेर रसुवातर्फ हिँड्यो अनेरास्ववियु [तस्वीरहरू]

काठमाडौं। अनेरास्ववियु मधेश प्रदेश सिरहाको टोली राहत सामग्रीसहित रसुवातर्फ प्रस्थान गरेको छ।

टोलीले २२० थान ट्र्याकसुट, २२० थान त्रिपाल, सेनिटरी प्याड, मास्कलगायत खाद्य सामग्री लिएर गोलबजार-चोहर्वाबाट रसुवातर्फ प्रस्थान गरेको हो।

 

तस्वीर: नेपाल फोटो लाइब्रेरी

कृष्णभीरको पहिरो पन्छाउन ‘दुवै छेउ’बाट काम सुरू

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो पन्छाउने काम बल्ल तीव्र पारिएको छ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार पहिरोको दुवैतर्फबाट काम अघि बढाइएको हो।

मन्त्री लम्सालले बिहीबार सामाजिक सञ्जालमार्फत पहिरोको दुवै छेउमा १८ जना खटाएर रुख काट्ने काम भइरहेको जानकारी दिए।

पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणसमेत दुवैतर्फ तयारी अवस्थामा राखिएको उनले बताए।

उनका अनुसार रुख काट्ने काम सकिएलगत्तै निर्माण उपकरण परिचालन गरेर पहिरो हटाउने काम सुरु गरिनेछ।

सडक सञ्चालनलाई प्राथमिकतामा राखेर कामलाई तीव्रता दिइएको मन्त्री लम्सालको भनाइ छ।

यसरी हुँदैछ शव पहिचान नहुँदासम्मको अस्थायी व्यवस्थापन

काठमाडौं । गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गर्‍यो। त्रिशूली नदीको तटीय क्षेत्रका बस्ती, चीन–नेपाल भन्सार, पासाङ ल्हामु राजमार्ग, जलविद्युत् आयोजना र त्यहाँ कार्यरत सयौं मानिस बाढीको चपेटामा परे।

बाढीमा सयौं मानिस, विदेशी नागरिकसमेत बेपत्ता भएपछि खोज तथा उद्धार अझै गम्भीर चुनौती बनेको छ।

जीवितको उद्धार र राहतसँगै बाढीले विभिन्न ठाउँमा पुर्‍याएका पहिचान नखुलेका शवको व्यवस्थापन पनि राज्यका लागि अर्को ठूलो जिम्मेवारी बनेको छ। रसुवा, नुवाकोट, धादिङ, तनहुँ, चितवन, नवलपरासीपूर्वलगायतका जिल्लामा मात्रै होइन, भारतसम्म शव तथा शरीरका अङ्ग पुगेका छन्।

हराइरहेका व्यक्तिका परिवारका लागि शव केवल शव होइन, आफ्ना प्रियजनसँग जोडिएको अन्तिम प्रमाण हो। त्यसैले पहिचान नखुलेका शवको व्यवस्थापन जनस्वास्थ्य र प्रशासनको विषय मात्र नभई मृतकको सम्मान, परिवारको अधिकार र न्यायसँग जोडिएको विषय हो।

नेपालमा पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनको जिम्मेवारी मूलतः नेपाल प्रहरीलाई दिइएको छ। ‘प्रहरी ऐन, २०१२’ र ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८’ ले यसको संस्थागत व्यवस्था गरेको छ।

ठूलो विपद्का बेला एकैपटक धेरै शव फेला पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै निर्देशिकामा संशोधनसमेत गरिएको छ। संशोधित व्यवस्थाअनुसार पहिचान नभएका शव, शरीरका अङ्ग वा भागलाई पहिचान गर्न सकिने चिह्न वा सङ्केत राखेर सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न सकिन्छ।

तर यसको अर्थ अन्तिम संस्कार गर्नु भने होइन। पछि शवको हकवाला पहिचान भएर परिवारले जिम्मा लिन चाहेमा सम्बन्धित शव वा शरीरका अङ्ग हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ।

शव व्यवस्थापन गर्नुअघि मुचुल्का, डीएनए नमूना, तस्बिर तथा अन्य पहिचानयोग्य विवरण अभिलेखमा राखिन्छ। चितवनमा दुई सयभन्दा बढी पहिचान नखुलेका शवलाई संरक्षित ट्रेन्चमा अस्थायी रूपमा व्यवस्थापन गरिएको र डीएनए, विशिष्ट पहिचान नम्बर, कपडा तथा व्यक्तिगत सामग्रीको विवरण सुरक्षित राखिएको छ।

अर्थात्, जमिनमुनि राखिएको शवलाई ‘गाडिएको’ भनेर बुझ्नु गलत हुन्छ। यो पहिचान नखुलेसम्म शवलाई सुरक्षित राख्ने अस्थायी व्यवस्थापन हो।

ठूलो विपद्मा एकैपटक सयौं शव फेला पर्न सक्छन्। तर नेपालका शवगृहको क्षमता सीमित छ। फरेन्सिकविज्ञ डा. गोपाल चौधरीका अनुसार सरकारी तथा निजी क्षेत्रका शवगृहमा एकैपटक करिब ३०० देखि ३५० शव मात्र राख्न सकिने क्षमता छ।

रसुवा बाढीपछि लगातार शव फेला परिरहेको अवस्थामा सबै शवलाई लामो समयसम्म शवगृहमा सुरक्षित राख्न कठिन हुने भएकाले मापदण्ड पूरा गरेर अस्थायी व्यवस्थापन गर्नुपर्ने अवस्था आएको हो।

तर शवलाई जहाँ पायो त्यहीँ गाड्ने होइन। प्रत्येक शवलाई छुट्टै पहिचान नम्बर, तस्बिर, डीएनए नमूना, व्यक्तिगत सामग्री र व्यवस्थापन गरिएको स्थानको विवरणसहित अभिलेख राख्नुपर्छ।

भोलि डीएनए वा अन्य प्रमाणबाट पहिचान खुलेमा सोही अभिलेखका आधारमा शव रहेको स्थान पत्ता लगाएर परिवारलाई हस्तान्तरण गर्न सकिन्छ।

राज्यको जिम्मेवारी शव व्यवस्थापन गरेर सकिँदैन। परिवारलाई समयमै सूचना दिने, पहिचान प्रक्रियामा सहभागी गराउने, प्रमाण सुरक्षित राख्ने र पहिचान खुलेपछि शव हस्तान्तरण गर्ने काम पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

नेपाल बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले पहिचान खुलेपछि परिवारले आफ्नो धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउने अधिकार सुरक्षित रहनुपर्छ।

त्यसैले अहिले जमिनमुनि अस्थायी रूपमा राखिएको शव परिवारको अन्तिम संस्कारको अधिकार खोसिएको अवस्था होइन। बरु पहिचान नखुलेसम्म शव सुरक्षित राख्ने र पहिचान खुलेपछि परिवारसम्म पुर्‍याउने व्यवस्था हो।

अब सबैभन्दा ठूलो आवश्यकता विभिन्न जिल्लामा फेला परेका शव र सम्पर्कविहीन व्यक्तिको विवरणलाई एउटै प्रणालीमा जोड्नु हो।

प्रत्येक शवको डीएनए, तस्बिर, व्यक्तिगत सामग्री, विशिष्ट पहिचान नम्बर र व्यवस्थापन गरिएको स्थानको विवरण सुरक्षित राख्नुपर्छ। परिवारले आफ्ना आफन्तको अवस्थाबारे सहज रूपमा जानकारी पाउने स्पष्ट सूचना तथा सम्पर्क प्रणाली पनि आवश्यक छ।

रसुवा बाढीले देखाएको अर्को कठोर सत्य यही हो-विपद् व्यवस्थापन जीवितको उद्धार र राहतमा मात्रै सकिँदैन। मृतकको सम्मान, पहिचान र परिवारको अधिकार जोगाउनु पनि राज्यको उत्तिकै ठूलो दायित्व हो।

संसदमा आज : प्रधानमन्त्रीको ब्रिफिङ, विपक्षीका प्रश्नै-प्रश्न

काठमाडाैं। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा १० भदौको विनाशकारी रसुवा बाढीबारे गहिरो मन्थन भयो। प्रधानमन्त्रीलगायत संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरूले सम्बोधन गरेको बैठकमा फरक-फरक धारणा प्रस्तुत गरे।

बुधबारको बैठकले विशेष प्रस्ताव पनि पारित गर्‍यो। सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रस्तुत गरेको विशेष प्रस्ताव संसद् बैठकले सर्वसम्मतिबाट पारित गरेको हो। प्रस्तावमा रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका तटीय क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिप्रति संसद्ले शोक व्यक्त गर्ने उल्लेख गरिएको छ।

आजैको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले रसुवा बाढीबारे संसद्लाई ब्रिफिङसमेत गरे। उनले राहत तथा उद्धार, सहयोग र समन्वय, जलवायु न्याय र नागरिकको जिउधनको रक्षा सरकारको प्राथमिकतामा रहेको बताउँदै आफू सधैँ नागरिकको साथमा रहने बताए।

प्रधानमन्त्री शाहले संसद्मा सम्बोधन गर्दै बाढीबाट भएको क्षति सिंगो देशको साझा पीडा भएको बताए। उनले भने, ‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो।’ संकटको समयमा सरकार विश्राम गरेर बस्न नमिल्ने भन्दै उनले उद्धार, राहत र पुनर्स्थापनामा सरकार निरन्तर सक्रिय रहने बताए।

प्रधानमन्त्री शाहले सरकारले विपद्को सुरुवातदेखि नै उद्धार तथा राहतमा तीव्रता दिएको दाबी गरे पनि प्रतिपक्षी दलका नेताहरूले उद्धारमा ढिलाइ, समन्वयको अभाव र सरकारी संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाएका छन्। बाढीपछिको राहत तथा उद्धारको कार्यमा सरकार जति चुस्त बन्नुपर्थ्यो, त्यति बन्न नसकेको भन्दै रास्वपाका विभिन्न नेताहरूले प्रश्न उठाइरहेका छन्। रास्वपा संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले यसअघि नै भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाएकी थिइन्। विपद्मा स्थानीय सरकार अटोमेटिक एक्टिभेट हुनुपर्ने बताएका लम्साललाई जवाफ दिँदै उनले काठमाडौँबाट सबै कुरा नदेखिने बताएकी थिइन्।

बुधबारको संसद् बैठकमा पनि रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै विभिन्न सुझाव दिए। त्यसक्रममा उनले नेपाल विपद्का कारण शोकमा भए पनि संसारबाट अलग नभएको बताए। सुरक्षित गन्तव्यमा पर्यटक आउन सक्ने वातावरण बनाउनुपर्ने भन्दै उनले नेपालको संकटलाई जलवायु न्यायसँग जोडेर अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए। ‘नेपाल शोकमा छ, तर बन्द भएको छैन,’ उनले भने।

संसद् बैठकमा विपक्षी दलहरूले त सरकारको कार्यशैलीलाई लिएर चर्को आलोचना गरे। उनीहरूले बाढीपछिका कार्यहरूमा सरकार आवश्यक समन्वय, सहजीकरण, राहत वितरण र उद्धारमा गम्भीर रूपमा चुकेको दाबी गरे। उनीहरूका अनुसार सरकार बाढी प्रभावित क्षेत्रमा पुग्नुको सट्टा सामाजिक सञ्जालमा मात्रै रमायो।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको उद्धारमा भएको ढिलाइलाई गम्भीर विषयका रूपमा उठाए। उनका अनुसार ६२ जिल्लाका ३ हजार ९१६ नागरिक अझै सम्पर्कविहीन रहेको विवरण आएको छ। उनले सुरुङभित्रको उद्धार सामान्य उद्धारभन्दा फरक र प्राविधिक हुने भएकाले सुरुदेखि नै आवश्यक जनशक्ति, उपकरण र प्रविधि परिचालन गर्नुपर्ने बताए।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीले सबै दल र सांसदलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए। प्रधानमन्त्री सबैको साझा प्रधानमन्त्री भएकाले संकटका बेला राष्ट्रिय एकता कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। उनले भने, ‘सामाजिक सञ्जालमा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नुभयो, तर यो संकट समाधान हुँदैन।’

उनका अनुसार अहिले लामो भाषणभन्दा सरकारको प्रत्यक्ष उपस्थिति र प्रभावकारी नेतृत्व आवश्यक छ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले सरकारलाई संसद्प्रति थप उत्तरदायी बनाउनुपर्ने भन्दै सातबुँदे प्रस्ताव अघि सारे। उनले सर्वदलीय संयन्त्र, विशेष संसदीय समिति, अन्तर्राष्ट्रिय सहयोगका लागि विशेष कार्यदल, उद्धार तथा राहतका लागि एकीकृत कार्यदल र पुनर्निर्माणका लागि छुट्टै संयन्त्र बनाउन सुझाव दिए। साथै, जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय रणनीति बनाउन ‘सगरमाथा संवाद’को दोस्रो संस्करण आयोजना गर्नुपर्ने बताए।

यस्तै, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद् व्यवस्थापनमा संघीय सरकारले स्थानीय तहलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकेको आरोप लगाए। उनका अनुसार बाढी आएको ७२ घण्टापछि मात्र निरीक्षण टोली र ९६ घण्टापछि उद्धार टोली पुगेको थियो। उनले स्थानीय स्रोतसाधन र जनशक्ति तत्काल परिचालन गरिएको भए उद्धार थप प्रभावकारी हुन सक्ने बताए।

संसद्मा उठेका प्रश्नहरूले विपद्को समयमा सरकारको नेतृत्व, उद्धार संयन्त्र, अन्तरसरकारी समन्वय र अन्तर्राष्ट्रिय सहयोग परिचालनबारे थप गम्भीर समीक्षा आवश्यक देखाएको छ। अबको चुनौती उद्धारसँगै प्रभावित नागरिकको पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउनु हो।

बाढी प्रभावित क्षेत्रमा धादिङ र नुवाकोटमा एमाले अध्यक्ष ओली [तस्‍बिरहरु]

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढीबाट बढी प्रभावित धादिङको गल्छी क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। उनले बाढीपीडित स्थानीयवासीसँग भेटेर उनीहरूका गुनासा तथा समस्या सुने।

गल्छीमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, जी फिन्ट, ओएनएफलगायतका संघ-संगठनले उद्धार तथा राहतका काम गरिरहेका छन्। अध्यक्ष ओलीले ती गतिविधिको समेत अवलोकन गरेका छन्।

यसै क्रममा ओलीले नुवाकोटको बेलकोटगढीका विभिन्न प्रभावित क्षेत्रको पनि निरीक्षण गरेका छन्।

 

रुसले इरानलाई सुपरसोनिक मिसाइल प्रविधिमा गोप्य सहयोग गरिरहेको खुलासा

काठमाडौं। रुसले इरानलाई अत्याधुनिक सुपरसोनिक क्रुज मिसाइल विकासका लागि गोप्य रूपमा सैन्य तथा प्राविधिक सहयोग उपलब्ध गराइरहेको खुलासा भएको छ। फाइनान्सियल टाइम्सका अनुसार सन् २०२३ देखि सञ्चालनमा रहेको ‘सी४३०एल’ नामक बहुवर्षीय कार्यक्रममा रुसी मिसाइल विज्ञहरू संलग्न छन्।

उक्त कार्यक्रममार्फत इरानलाई ध्वनिको गतिभन्दा कैयौँ गुणा तीव्र गतिमा उड्न सक्ने मिसाइलका लागि आवश्यक रामजेट इन्जिन प्रविधि विकास गर्न सहयोग भइरहेको बताइएको छ।

रुसी पत्राचार, यात्रा विवरण तथा सैन्य पेटेन्टको विश्लेषणमा आधारित प्रतिवेदनअनुसार अमेरिका, इजरायल र इरानबीच सैन्य तनाव तथा द्वन्द्व बढिरहेका बेला पनि यो कार्यक्रम निरन्तर सञ्चालनमा थियो।

इरानी मिसाइल विज्ञ तथा कन्फ्लिक्ट आर्मामेन्ट रिसर्चका वरिष्ठ विश्लेषक फेबियन हिन्जले रुसी सहयोगलाई इरानतर्फ भएको रणनीतिक सैन्य प्रविधिको महत्त्वपूर्ण हस्तान्तरणका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यति संवेदनशील सैन्य प्रविधिको विकासमा सहयोग गर्न रुसी नेतृत्वको उच्च तहबाट राजनीतिक स्वीकृति आवश्यक हुन्छ।

रामजेट प्रविधि जहाजविरोधी तथा स्थल आक्रमण गर्ने क्रुज मिसाइलमा प्रयोग गर्न सकिन्छ। सुपरसोनिक मिसाइलले अत्यधिक गति र कम उचाइमा उड्ने क्षमता राख्ने भएकाले हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई त्यस्ता मिसाइल पहिचान गरी रोक्न निकै कम समय उपलब्ध हुन्छ।

खाडी क्षेत्रमा अमेरिका र उसका सहयोगी मुलुकका उन्नत हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथ रहेकाले यस्तो प्रविधि इरानका लागि रणनीतिक रूपमा निकै महत्त्वपूर्ण हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।

फाइनान्सियल टाइम्सका अनुसार इरानले रामजेट इन्जिन प्रणाली निर्माण गर्नुका साथै त्यसको उडान परीक्षणसमेत गरिसकेको छ। तर रुसी सहयोगमा विकसित सुपरसोनिक क्रुज मिसाइल इरानी सेनाले तैनाथ गरिसकेको पुष्टि हुने प्रमाण भने फेला परेको छैन।

सीआईएका पूर्व इरानकेन्द्रित सैन्य विश्लेषक जिम ल्यामसनका अनुसार यस्तो प्रविधि प्राप्त भएमा इरानले अमेरिकी नौसेनाका जहाजविरुद्ध नयाँ स्तरको रणनीतिक क्षमता विकास गर्न सक्छ। चुहिएको रुसी पत्राचारले यस गर्मीयामसम्म पनि उक्त कार्यक्रमबारे छलफल जारी रहेको देखाएको प्रतिवेदनमा उल्लेख छ।

रुस र इरानबीच सैन्य सहकार्य निरन्तर विस्तार भइरहेका बेला यस्तो विवरण सार्वजनिक भएको हो। इरानले रुसलाई ‘साहेद’ आक्रमण ड्रोन आपूर्ति गर्दै आएको छ। ती ड्रोन युक्रेनविरुद्धको रूसी युद्धमा प्रयोग हुँदै आएका छन्। पश्चिमी अधिकारीहरूले रुसले इरानलाई स्याटेलाइट तस्बिर, ड्रोनसम्बन्धी सहयोग तथा हतियार निर्माणका सामग्रीसमेत उपलब्ध गराएको आरोप लगाउँदै आएका छन्।

यसैबीच, अमेरिकाले इरानी सैन्य संरचनाविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले इरानी हवाई प्रतिरक्षा प्रणाली, समुद्री खानी राख्ने क्षमता तथा सञ्चार संरचनालाई लक्षित गरी सैन्य कारबाही गरिएको जनाएको छ।

सेन्टकमका अनुसार हर्मुज जलघाँटीमा व्यापारिक जहाज तथा अमेरिकी सैनिकविरुद्ध इरानी रिभोलुसनरी गार्ड्स कोर (आईआरजिसी) ले गरेको प्रयास तथा आक्रमणपछि ती कारबाही अघि बढाइएको हो।

तर इरानी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी आक्रमणले सिरिकमा आयोजित विवाह समारोहलाई समेत निशाना बनाएको आरोप लगाएका छन्। उनका अनुसार उक्त घटनामा ५० भन्दा बढी व्यक्ति मारिएका वा घाइते भएका छन्।

इरानको सरकारी समाचार संस्था इरनाले पनि अमेरिकी आक्रमणको जवाफमा आईआरजिसीको एयरोस्पेस फोर्सले जोर्डनस्थित अमेरिकी प्रिन्स हसन एयर बेसमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी आसपासका इरानी लक्ष्यलाई केन्द्रित गरी नयाँ सैन्य आक्रमण सुरु गरिएको बताएका छन्। इरानले जलघाँटीमा थप समुद्री खानी बिछ्याउने तयारी गरिरहेको दाबी गर्दै त्यसको प्रतिक्रियास्वरूप कारबाही गरिएको उनको भनाइ छ।

ट्रम्पले अमेरिकी आक्रमणको जवाफमा इरानबाट हुने कुनै पनि प्रतिक्रियाको कडा प्रतिकार गरिने चेतावनी दिएका छन्। उनले तेहरानविरुद्ध अझ ठूलो स्तरको सैन्य कारबाही हुन सक्ने संकेतसमेत गरेका छन्।

नेपाल भलिबल लिग सुरु हुन दुई दिन बाँकी, ९ देशका विदेशी खेलाडी नेपालमा

काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) सुरु हुन अब दुई दिन मात्रै बाँकी छ। केडिया ग्रुपको आयोजनामा हुने प्रतियोगिता भदौ १९ देखि २७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुनेछ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। महिला भलिबलको फ्रेन्चाइज लिग यसअघि नै आयोजना भइसके पनि पुरुषतर्फ भने पहिलोपटक फ्रेन्चाइज अवधारणामा प्रतियोगिता हुन लागेको हो। त्यसैले प्रतियोगितालाई लिएर आयोजक, खेलाडी तथा भलिबलप्रेमीमा उत्साह देखिएको छ।

एनभीएलको अर्को आकर्षण भनेको विदेशी खेलाडीको सहभागिता हो। प्रतियोगिताको नियमअनुसार प्रत्येक टोलीले तीन जना विदेशी खेलाडीलाई आफ्नो टोलीमा समावेश गर्न पाउनेछन्। सोहीअनुसार विभिन्न देशका खेलाडीहरू नेपाल आउने क्रम जारी छ।

यसअघि नेपाल भलिबल संघले आयोजना गर्ने अधिकांश प्रतियोगितामा भारत र पाकिस्तानका खेलाडीको सहभागिता बढी हुने गरेको थियो। तर एनभीएलमा भने एसियाली मुलुकसँगै युरोप, अफ्रिका र ल्याटिन अमेरिकी क्षेत्रका खेलाडीसमेत सहभागी हुँदैछन्।

हालसम्म ९ देशका विदेशी खेलाडी नेपाल आइसकेका छन्। पाकिस्तानबाट सबैभन्दा बढी पाँच खेलाडी सहभागी हुने निश्चित भएको छ। यस्तै, भारत र मंगोलियाबाट तीन–तीन खेलाडी नेपाल आइसकेका छन्।

त्यसैगरी पोल्यान्ड, बेलारुस, इरान, रुस र बेनिनबाट एक-एक खेलाडी नेपाल आएका छन्। यसले एनभीएललाई नेपाली घरेलु प्रतियोगितामात्र नभई अन्तर्राष्ट्रिय खेलाडीको समेत जमघट हुने प्रतियोगिताका रूपमा अघि बढाएको छ।

विदेशी खेलाडीको सहभागिताले नेपाली भलिबलको अन्तर्राष्ट्रिय प्रचारमा समेत योगदान पुग्ने आयोजकको अपेक्षा छ। साथै, नेपाली खेलाडीले विभिन्न देशका अनुभवी खेलाडीहरूसँग एउटै कोर्टमा खेल्दै आफ्नो क्षमता र खेल कौशल विकास गर्ने अवसर पाउनेछन्।

एनभीएलमा सहभागी हुने १८ विदेशी खेलाडीमध्ये अब एक जना खेलाडी मात्र नेपाल आउन बाँकी रहेको छ। प्रतियोगिता नजिकिँदै जाँदा सबै टोली अन्तिम तयारीमा जुटेका छन्।

ब्ल्याक होलको ‘शिकार’ बनेका तारा किन कम चम्किन्छन्?

काठमाडौं। सुपरम्यासिभ ब्ल्याक होलको नजिक पुगेर पनि विनाशबाट जोगिएका ताराबारे वैज्ञानिकहरूले नयाँ रहस्य पत्ता लगाएका छन्। 

ब्ल्याक होलले यस्ता ताराबाट पटक-पटक पदार्थ तान्दा हरेक घटनासँगै देखिने प्रकाशको चमक किन घट्दै जान्छ भन्ने प्रश्नको सम्भावित उत्तर अनुसन्धानकर्ताहरूले दिएका हुन्।

वैज्ञानिक भाषामा यस्ता घटनालाई रिपिटिङ पार्टियल टाइडल डिसरप्सन इभेन्ट (आरपीटीडीई) भनिन्छ। यसमा कुनै तारा सुपरम्यासिभ ब्ल्याक होलको अत्यन्त नजिक पुग्छ। ब्ल्याक होलको शक्तिशाली गुरुत्वीय प्रभावले ताराको केही भाग तानेर लैजान्छ, तर तारालाई पूर्णरूपमा नष्ट भने गर्दैन। त्यसपछि तारा फेरि ब्ल्याक होल वरिपरि घुम्छ र अर्को पटक नजिक पुग्दा पुनः केही पदार्थ गुमाउँछ।

हरेकपटक ताराबाट पदार्थ ब्ल्याक होलतर्फ खस्दा त्यहाँबाट शक्तिशाली प्रकाशको फ्लेयर निस्कन्छ। तर यस्ता घटनामा पछिल्ला फ्लेयरहरू अघिल्लाभन्दा कमजोर हुँदै जाने गरेको वैज्ञानिकहरूको ठहर छ। 

अमेरिकाको सिराक्युज युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यो असामान्य घटनाको कारण पत्ता लगाउन ताराको आफ्नै स्पिन, अर्थात् घुम्ने गतिलाई अध्ययनमा समेटेका छन्।

अनुसन्धान टोलीकी प्रमुख अनन्या बन्दोपाध्यायका अनुसार यो समस्या समाधान गर्न वैज्ञानिकहरू करिब दुई वर्षदेखि प्रयासरत थिए।

अनुसन्धानकर्ताहरूका अनुसार ब्ल्याक होलले ताराबाट कति पदार्थ तान्छ भन्ने कुरा ताराको आन्तरिक बनोटमा पनि निर्भर हुन्छ।

कम द्रव्यमान भएका तारा तुलनात्मक रूपमा नरम र फुस्रो संरचनाका हुन्छन्। त्यसैले ब्ल्याक होलको टाइडल फोर्सले तिनलाई सजिलै प्रभावित गर्छ र भित्री भागबाट समेत धेरै पदार्थ तान्न सक्छ।

तर बढी द्रव्यमान भएका ताराको संरचना प्याजका तहजस्तै हुन्छ। ब्ल्याक होलको नजिक पुग्दा यसको बाहिरी तहहरू पहिले हट्छन्, तर केन्द्र अर्थात् कोर भने बलियो रहन्छ। त्यसैले प्रत्येक भेटमा बाहिरी पदार्थ घट्दै गएपछि ब्ल्याक होलले अर्को पटक तान्न सक्ने पदार्थ पनि कम हुँदै जान्छ।

तर यही कारणले मात्र प्रकाशको चमक घट्ने घटनालाई पूर्ण रूपमा व्याख्या गर्न सकिँदैन।

वैज्ञानिकहरूको अघिल्लो अध्ययनले ब्ल्याक होलले तारामा टर्क लगाउने देखाएको थियो। यसको असरले तारा प्रत्येकपटक ब्ल्याक होलको नजिक पुग्दा अझ तीव्र गतिमा घुम्न थाल्छ।

ताराको स्पिन बढेपछि उसले ब्ल्याक होल वरिपरि पूरा गर्ने अर्बिटल पिरियड पनि छोटिँदै जान्छ। अर्थात् तारा पहिलेभन्दा छिटो-छिटो ब्ल्याक होलको नजिक पुग्छ।

यसले ताराबाट जाने पदार्थको मात्रा घटे पनि फ्लेयरको चमकलाई लामो समयसम्म कायम राख्न सक्छ।

तर केही आरपीटीडीईमा चमक निरन्तर घटिरहेको देखिएपछि अनुसन्धानकर्ताहरूले अर्को सम्भावना अघि सारे।

उनीहरूको निष्कर्षअनुसार, ब्ल्याक होलसँग पहिलोपटक भेटिनुअघि नै तीव्र गतिमा घुमिरहेको तारा यस्तो घटनाको कारण हुन सक्छ।

यदि तारा पहिलेदेखि नै तीव्र गतिमा घुमिरहेको छ भने ब्ल्याक होलको टर्कले त्यसको स्पिनमा धेरै वृद्धि गर्न सक्दैन। त्यसैले ताराको ब्ल्याक होल वरिपरिको परिक्रमा अवधि पनि धेरै छोटिँदैन।

फलतः ताराबाट प्रत्येकपटक कम पदार्थ छुट्दै जाँदा त्यससँगै फ्लेयरको चमक पनि क्रमशः घट्न सक्छ।

तर तारा सुरुबाटै यति तीव्र गतिमा किन घुमिरहेको थियो? भन्ने प्रश्न अहम रुपमा उठ्छ। 

वैज्ञानिकहरूले यसको सम्भावित उत्तर बाइनरी स्टार सिस्टममा भेटेका छन्।

धेरै तारा एक्लै नभई अर्को तारासँग जोडी बनाएर बाइनरी सिस्टममा रहेका हुन्छन्। यस्तो जोडी सुपरम्यासिभ ब्ल्याक होलको नजिक पुग्दा ब्ल्याक होलको शक्तिशाली गुरुत्वीय प्रभावले दुवै तारालाई छुट्याउन सक्छ।

यस प्रक्रियालाई हिल्स क्याप्चर भनिन्छ।

हिल्स क्याप्चरका क्रममा एउटा तारा तीव्र गतिमा बाहिर फालिन सक्छ भने अर्को तारा ब्ल्याक होलको गुरुत्वीय प्रभावमा फस्न सक्छ।

यदि बाइनरी सिस्टमका दुई तारा एकअर्काको निकै नजिक रहेर तीव्र गतिमा घुमिरहेका थिए भने, ब्ल्याक होलले कब्जा गरेको ताराले आफ्नो तीव्र स्पिन कायम राख्न सक्छ। साथै, त्यो तारा ब्ल्याक होलसँग निकै छोटो कक्षामा बाँधिन सक्छ।

यसरी पहिले नै तीव्र गतिमा घुमिरहेको तारा ब्ल्याक होल वरिपरि केही महिनामै एउटा अर्बिट पूरा गर्ने अवस्थामा पुग्न सक्छ।

अनुसन्धानकर्ता एरिक कफलिनका अनुसार, बाइनरी ताराको विनाश र त्यसका एक तारालाई ब्ल्याक होलले कब्जा गर्ने एउटै घटनाले आरपीटीडीईमा देखिएका धेरै असामान्य विशेषता व्याख्या गर्न सक्छ।

वैज्ञानिकहरूका लागि यो अध्ययन ब्ल्याक होल र ताराबीच हुने यस्तो अन्तरक्रियाको भौतिक प्रक्रिया बुझ्न महत्वपूर्ण उपलब्धि मानिएको छ।

यस अनुसन्धानको सम्बन्ध हाम्रो आफ्नै मिल्की वे आकाशगंगासँग पनि जोडिएको छ।

मिल्की वेको केन्द्रमा रहेको सुपरम्यासिभ ब्ल्याक होल स्याजिटेरियस ए स्टार (एसजीआर ए स्टार) अहिले आरपीटीडीईमा संलग्न छैन। तर यसको वरिपरि तीव्र गतिमा घुमिरहेका थुप्रै तारा छन्।

नयाँ अध्ययनले ती ताराहरू ब्ल्याक होलको वरिपरि कसरी यति तीव्र गतिमा घुम्ने अवस्थामा पुगे भन्ने रहस्य बुझ्न पनि सहयोग गर्न सक्ने वैज्ञानिकहरूको विश्वास छ।

[अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको]

सन नेपालले बाढी प्रभावितलाई ६० लाख दिने

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्‍याउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन्।

बाढीका कारण प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि आवश्यक स्रोत जुटाउन सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको कम्पनीले जनाएको छ।

चलचित्र विकास बोर्डमा ‘डिसी’ गए, शर्मा आए

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली भएको पाँच दिनमै सरकारले कार्यवाहकको टुंगो लगाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव रविलाल शर्मालाई बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।

तत्कालीन अध्यक्ष दिनेशराज दाहाल ‘दिनेश डिसी’ले ११ भदौमा दुई वर्षे कार्यकाल पूरा गरेर बिदा लिएपछि बोर्ड नेतृत्वविहीन थियो। नयाँ अध्यक्ष नियुक्त नभएसम्मका लागि मन्त्रालयले शर्मालाई कार्यवाहकको जिम्मेवारी दिएको हो।

शर्माले बुधबार नै बोर्डमा पुगेर पदभार सम्हालेका छन्। उनको जिम्मेवारी भने नयाँ अध्यक्ष नआउन्जेल बोर्डको दैनिक प्रशासनदेखि अत्यावश्यक निर्णयसम्मलाई ‘ब्रेक’ लाग्न नदिनु हुनेछ।

अध्यक्ष पदका लागि नयाँ व्यक्ति आउने बाटो खुला राख्दै मन्त्रालयले सहसचिव शर्मालाई बोर्डको नेतृत्व सुम्पिएको हो।

समानान्तर महाधिवेशनको तयारीमा देउवा

काठमाडौं। नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर विवाद चर्किँदै जाँदा पूर्वसभापति शेरबहादुर देउवा समूह भने समानान्तर महाधिवेशनको तयारीमा छ।

भने, देउवा पक्ष कै नेता डा. शेखर कोइराला पार्टी विभाजनको जोखिम बढेपछि विभिन्न धारका नेताहरूलाई साथमा राखेर संवाद र सहमतिको प्रयासमा व्यस्त छन्।

सभापति गगन थापा नेतृत्वको कार्यसमितिले अघि बढाएको १५औँ महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेपछि देउवा समूहले छुट्टै महाधिवेशनको तयारी थालेको हो ।

यसअघि देउवा समूहले राष्ट्रिय भेला गर्दै देउवाकै नेतृत्वमा समानान्तर महाधिवेशन गर्ने निर्णय गरेको थियो । भेलाले महाधिवेशनको समन्वय गर्ने जिम्मेवारीसहित कमान्डर पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई बनाएको थियो।

यस्तै, शशांकले शनिबार विज्ञप्ति जारी गर्दै छुट्टै महाधिवेशनको कार्यतालिका छिट्टै सार्वजनिक गर्ने बताएका थिए। उनले नेता-कार्यकर्तालाई सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नहुनसमेत आग्रह गरेका थिए।

कांग्रेसभित्र महाधिवेशनलाई लिएर दुई धारबीच विवाद बढिरहे पनि पार्टी विभाजनको पक्षमा नरहेका नेताहरूबीच संवादको बाटो खुला रहेको संकेत गरेको छ ।

देउवा समूहले असोजको पहिलो साताबाट वडा अधिवेशन सुरु गर्ने गरी समानान्तर कार्यतालिका ल्याउने तयारी गरिरहँदा संस्थापन पक्षले आफ्नै घोषित कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

यस्तै, कांग्रेसभित्र दुई फरक महाधिवेशनको तयारी अघि बढेमा कांग्रेसको सांगठनिक र वैधानिक विवाद थप जटिल बन्ने देखिएको छ। यद्यपि शेखर विभाजन रोक्न सक्रिय छन्। उनको सक्रियता सार्थक भए, कांग्रेस विभाजन नहुन सक्छ।

कांग्रेसभित्रको मुख्य चुनौती दुई पक्षबीचको महाधिवेशनसम्बन्धी विवाद समाधान गर्नुका साथै क्रियाशील सदस्यता, सांगठनिक संरचना र पार्टीको आधिकारिकतासँग जोडिएका विषयमा सहमति जुटाउनु रहेको छ।

देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा अघि बढिसकेको अवस्थामा सभापति थापा नेतृत्वको संस्थापन पक्षले असन्तुष्ट समूहलाई कसरी समेट्छ र शेखरको संवादले कस्तो परिणाम दिन्छ भन्ने विषयले कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारण गर्ने देखिएको छ।

उत्तरगयाको अवस्था भयावह

काठमाडौं। भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीले रसुवाको उत्तरगया गाउँपालिकालाई गम्भीर संकटमा धकेलेको छ।

बाढीमा ठूलो मानवीय क्षतिसँगै गाउँपालिकाका सरकारी तथा सार्वजनिक संरचना तहसनहस भएका छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीका अनुसार अहिलेसम्म ४२६ जनाभन्दा बढी स्थानीय बासिन्दा बेपत्ता छन्। बाढीले सबैभन्दा ठूलो क्षति वडा नम्बर १ मा पुर्‍याएको छ, जहाँ २१९ जना सम्पर्कविहीन छन्।

त्यस्तै वडा नम्बर २ मा ८८, वडा नम्बर ३ मा २७, वडा नम्बर ४ मा ७७ र वडा नम्बर ५ मा १५ जना बेपत्ता भएको विवरण गाउँपालिकाले संकलन गरेको छ।

बाढीमा गाउँपालिकामै कार्यरत पाँच कर्मचारीसमेत बेपत्ता भएका छन्। तीमध्ये एक जनाको शव मात्रै फेला परेको उप्रेतीले बताए।

‘तीन–चार वटा टोल त पूरै सम्पर्कविहीन छन्,’ उनले भने, ‘त्यहाँ कति घर थिए र कति मानिस बस्थे भन्ने यकिन तथ्याङ्क निकाल्नसमेत कठिन भइरहेको छ।’

बाढीले गाउँपालिकाको प्रशासनिक भवनसहित तीन विद्यालय, स्वास्थ्य चौकी, पशु सेवा कार्यालय र कृषि कार्यालयमा क्षति पुर्‍याएको छ। विशेषगरी त्रिशूली नदीपारि रहेका वडा नम्बर १, २ र ३ मा उद्धार तथा राहत सामग्री पुर्‍याउन कठिनाइ भइरहेको गाउँपालिकाले जनाएको छ।

बाढीपछि गाउँपालिकामा विद्युत् र बैंकिङ सेवा ठप्प छन्। सरकारी कार्यालय तथा बैंक सञ्चालनमा नआउँदा पीडितलाई तत्काल नगद राहत उपलब्ध गराउनसमेत समस्या भएको प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले बताए।

घरबार गुमाएका तथा जोखिममा रहेका नागरिकलाई गाउँपालिकाले विभिन्न स्थानमा अस्थायी होल्डिङ सेन्टर बनाएर राखेको छ।

गणेश आदर्श विद्यालयमा ४९, सल्ले प्राथमिक विद्यालयमा १२१, कालिका माध्यमिक विद्यालयमा १९, भीमसेन आधारभूत विद्यालयमा ४९, शिवालयमा २०० र सामुदायिक भवनमा १८ जना आश्रय लिएर बसेका छन्।

शिवालयमा आश्रय लिनेमा मात्रै १३० भन्दा बढी बालबालिका छन्।

बाढीपछि उत्तरगया गाउँपालिकासामु बेपत्ताको खोजी र विस्थापितको व्यवस्थापनसँगै अभिभावक गुमाएका बालबालिका, एकल महिला तथा ज्येष्ठ नागरिकको संरक्षण ठूलो चुनौती बनेको छ।

गाउँपालिकाका अनुसार अहिले केन्द्र र प्रदेश सरकारको तुलनामा गैरसरकारी संस्था, स्वयंसेवक तथा विभिन्न सामाजिक संघसंस्थाबाट बढी राहत सहयोग प्राप्त भइरहेको छ।

तर क्षतिको व्यापकता हेर्दा राहत मात्र पर्याप्त नहुने देखिएको छ। विस्थापितको पुनःस्थापना, ध्वस्त संरचनाको पुनर्निर्माण र प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापनका लागि ठूलो स्रोत र साधन आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ।

बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन

चितवन। भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूको पहिचानका लागि चितवन उद्योग संघ परिसरमा डीएनए नमुना संकलन गरिँदैछ ।

नमुना संकलनका लागि सुरक्षाकर्मी तथा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाईका ल्याब टेक्निसियन परिचालन गरिएको छ।

 

तस्वीर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

 

 

एउटै क्षेत्रमा १५–२० हेलिकप्टर कसरी गर्दैछन् उडान? (तस्वीरहरू)

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि एकैपटक १५–२० वटासम्म हेलिकप्टर परिचालन भइरहेका बेला ती उडानलाई कसरी व्यवस्थित गरिन्छ भन्ने चासो बढेको छ।

त्रिभुवन विमानस्थलका हवाई ट्राफिक नियन्त्रक (एटीसी) प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठका अनुसार उद्धार तथा राहतमा खटिएका हेलिकप्टरका पाइलटहरू एउटै साझा रेडियो फ्रिक्वेन्सीमा सम्पर्कमा रहन्छन्।

उनीहरूले उडानका क्रममा आफ्नो अवस्थिति, जाने दिशा र आसपासको हवाई ट्राफिकबारे एकअर्कालाई निरन्तर जानकारी गराउने गर्छन्। यसरी आपसी समन्वयबाटै पाइलटहरूले आवश्यक उडान दूरी कायम गर्दै हेलिकप्टर सञ्चालन गरिरहेको श्रेष्ठले बताए।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

भोटेकोशी विपद्मा स्थानीय तहलाई परिचालन गर्नुपर्थ्यो : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानबहादुर शाहीले भोटेकोशी बाढीबाट उत्पन्न विपद् व्यवस्थापनमा संघीय सरकारले स्थानीय तहलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै शाहीले बाढीपछि सुरुङभित्र फसेका नागरिकको उद्धारमा सरकारको ढिलासुस्ती देखिएको आरोप लगाए।

उनका अनुसार बाढी आएको ७२ घण्टापछि मात्रै अनुगमन टोली प्रभावित क्षेत्रमा पुगेको थियो भने ९६ घण्टापछि उद्धार टोली पठाइएको थियो। त्यो टोलीसमेत सरकारी संयन्त्रबाट नभएको उनको दाबी थियो।

‘७२ घण्टापछि अनुगमनको टोली गयो, ९६ घण्टापछि उद्धारको टोली गयो, त्यो पनि सरकारको होइन,’ शाहीले भने।

उनले प्रभावित क्षेत्रमा उद्धारका लागि पर्वतारोही तथा आफैं पीडित बनेका व्यक्तिहरूको सहयोग लिनुपरेको भन्दै सरकारको तयारीमाथि प्रश्न उठाए।

सांसद जनताका प्रतिनिधि भएकाले जनताको आवाज संसद्मा उठाउनु स्वाभाविक भए पनि कार्यकारी अधिकार भएका मन्त्रीहरूले समेत विपद्को व्यवस्थापनमा प्रभावकारी कदम चाल्न नसकेको उनको आरोप थियो।

शाहीले संसद्मा सरकारले स्थानीय तहलाई पर्याप्त रूपमा परिचालन गरेको दाबी गरे पनि वास्तविकता त्यस्तो नरहेको जिकिर गरे।

स्थानीय स्रोतसाधन प्रयोग गरेको भए उद्धार र राहत कार्य अझ छिटो अघि बढ्न सक्ने उनको भनाइ थियो।

उनले पाँच घण्टाभित्र प्रभावित क्षेत्रमा स्काभेटर पठाउन सकिने अवस्था हुँदाहुँदै १४४ घण्टापछि मात्रै स्काभेटर पठाइएको दाबी गर्दै सरकारको विपद् व्यवस्थापन प्रणालीप्रति असन्तुष्टि व्यक्त गरे।

रसुवा बाढीबारे संसद्को विशेष प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं । प्रतिनिधिसभाले रसुवाको भोटेकोशीसहित विभिन्न जिल्लामा १० भदौमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

बुधबारको बैठकमा सभामुखले प्रस्तुत गरेको प्रस्तावमा रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका तटीय क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिप्रति संसद्ले शोक व्यक्त गरेको हो।

बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसी र बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत क्षेत्र प्रभावित भएका छन्। विपद्मा ठूलो संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै धेरैले ज्यान गुमाएका छन्।

प्रतिनिधिसभाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारलाई प्रभावकारी बनाउनसमेत सरकारको ध्यानाकर्षण गराइएको छ।

विशेष प्रस्तावमार्फत बाढीका कारण घरबारविहीन भएका नागरिकको तत्काल सुरक्षित व्यवस्थापन, राहत र दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरिएको छ।

बाढीले बगाएको मानव र चाैपायकाे शवले नदी दुर्गन्धित, स्यानिटाइज गर्दै युवाकाे समूह

नुवाकोट । त्रिशूली नदी आसपासकाे बगर क्षेत्रलाई काभ्रेको बनेपादेखि आएका युवाहरूको एक समूहले ‘स्यानिटाइज’ गरेको छ ।

यही १० भदौमा ठूलो जनधनको क्षति पुर्‍याउने गरी ल्हेन्दे खोला, भोटेकोशी र त्रिशूली नदीमा भीषण बाढी आएपछि मानव शव र पशु चौपायाका शवले नदी दुर्गन्धित बन्दै गएपछि समूहले ‘स्यानिटाइज’ गरेको हो ।

दुर्गन्ध फैलिएर महामारी फैलिन सक्ने जोखिम बढेको भन्दै जनस्वास्थ्यविद्हरूले चेतावनी दिइरहेका बेला समूहले नदी बगर आसपासका बजारहरू देवीघाट, ढुङ्गेबजार, सिम्बुटार, त्रिशूलीलगायत क्षेत्रमा स्यानिटाइज गरेको हो ।

‘खासमा हामी स्वतःस्फूर्त बाढी आएकै दिन नागरिकहरूको उद्धार गर्न आएका थियौँ,’ समूहका एक युवा गोविन्द बुढाथोकीले भने, ‘सकेको उद्धार गरेपछि हामी चिकित्सकहरूसँग परामर्श गरेर स्यानिटाइजमा जुट्यौँ र नदीको दुर्गन्ध कम हुँदै गयो ।’

स्यानिटाइजका लागि आवश्यक केमिकल आफूहरूले नै खरिद गरेको उनले बताए।

१५ औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने देउवा समूहको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ। महाधिवेशनको मिति तय गर्ने विषयमा छलफल गर्न काठमाडौंको चुनदेवीमा जारी बैठकमा देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन आयोजना गर्ने प्रस्ताव गरेको हो।

पार्टीको आगामी महाधिवेशनअघि तल्लो तहदेखि नै अधिवेशन तथा निर्वाचन प्रक्रिया सम्पन्न गर्ने गरी कार्यतालिकासमेत प्रस्ताव गरिएको छ। बैठकमा वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशन तथा प्रतिनिधि चयनका लागि विभिन्न मिति प्रस्ताव गरिएको हो।

प्रस्तावित कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन गर्ने प्रस्ताव छ। त्यसपछि असोज २० गते पालिका अधिवेशन गर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, असोज २३ गते प्रदेश निर्वाचन तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको निर्वाचन गर्ने प्रस्ताव बैठकमा पेस गरिएको छ। त्यसपछि कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्ताव गरिएको छ।

तल्लो तहका अधिवेशनदेखि प्रदेश अधिवेशनसम्मको प्रक्रिया पूरा गरेपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव छ।

बैठकमा महाधिवेशनको तयारी, संगठनात्मक संरचना, अधिवेशनको कार्यतालिका तथा पार्टीभित्र देखिएका विभिन्न विषयमा छलफल भइरहेको छ। महाधिवेशनको मिति र निर्वाचन कार्यतालिकाबारे पार्टीभित्र सहमति जुटाउने प्रयाससमेत भइरहेको छ।

देउवा समूहले प्रस्ताव गरेको कार्यतालिका पारित भएमा असोजदेखि कांग्रेसको तल्लो तहका अधिवेशनको प्रक्रिया सुरु हुनेछ। वडा र पालिका हुँदै प्रदेश निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गरेपछि केन्द्रीय महाधिवेशन आयोजना गर्ने तयारी हुनेछ।

यद्यपि प्रस्तावित कार्यतालिकालाई अन्तिम रूप दिन पार्टीभित्र थप छलफल र सहमति आवश्यक रहेको नेताहरूले बताएका छन्। बैठकबाट महाधिवेशनको मिति र अधिवेशनसम्बन्धी कार्यतालिकालाई औपचारिक निर्णयका रूपमा अघि बढाउने तयारी भइरहेको छ।

अनि प्रचण्डले सोधे- प्रधानमन्त्रीको के हो त्यो तरिका?[भिडियो]

काठमाडौं। प्रतिपक्षी दल नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संसद् र राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्न आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री संसद्मा आएर केही विषयबारे जानकारी गराएर फर्किएको भन्दै त्यसले मात्र संसद्को विश्वास हासिल नहुने बताए। सरकारको नेतृत्वले सत्ता पक्ष र प्रतिपक्ष मात्र नभई संसद्मा रहेका सबै सांसद तथा राजनीतिक शक्तिलाई विश्वासमा लिनुपर्ने उनको भनाइ थियो।

प्रचण्डले प्रधानमन्त्रीको वर्तमान कार्यशैली हेर्दा आफ्नै सांसदहरूलाई समेत पर्याप्त रूपमा विश्वासमा लिने प्रयास नभएको टिप्पणी गरे। प्रधानमन्त्री संसद्मा आएर सांसदहरूसँग संवाद नगरी फर्किने शैली उपयुक्त नभएको भन्दै उनले यस्तो व्यवहारले राजनीतिक सहकार्य बलियो बनाउन नसक्ने बताए।

उनले भने, ‘उहाँ आउनुहुन्छ कसैको अनुहार नहेरि जानुहुन्छ यो के तरिका हो ? यस्तो हुँदैन। प्रधानमन्त्री त हामी सबैको हो। जतिबेला हामी सबैले सहयोग गर्छौं भनिरहेका छौं । भन्दा भन्दै कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका?’

प्रचण्डले प्रधानमन्त्री शाहलाई वर्तमान संकटका बेला ठूलो अवसर प्राप्त भएको भन्दै त्यसलाई गुम्न दिन नहुने बताए। अहिलेको अवस्थामा लामो भाषणभन्दा प्रभावकारी नेतृत्व र जनतामाझ सरकारको प्रत्यक्ष उपस्थिति आवश्यक रहेको उनको भनाइ थियो।

उनले देशले अहिले आश्वासनभन्दा काम खोजिरहेको उल्लेख गर्दै विपद्मा परेका नागरिकले हरेक ठाउँमा राज्यको उपस्थिति अनुभूति गर्न पाउनुपर्ने बताए।

प्रचण्डले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा सन्देश लेखेर मात्र संकट समाधान नहुने चेतावनीसमेत दिए। चुनावका बेला सामाजिक सञ्जाल प्रभावकारी माध्यम बने पनि अहिले उत्पन्न राष्ट्रिय संकट समाधान गर्न त्यही माध्यम मात्र पर्याप्त नहुने उनको टिप्पणी थियो।

उनले भने, ‘सामाजिक सञ्जालमा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नुभयो, तर यो संकट समाधान हुँदैन।’

प्रचण्डले अहिले मुलुक गम्भीर संकटमा रहेकाले राजनीतिक दल, राज्यका सबै निकाय र नागरिकबीच एकता आवश्यक रहेको बताए। संकटका बेला राज्यको उपस्थिति देखिनुपर्ने र विपत्तिमा राष्ट्र एकजुट भएको सन्देश जनताले पाउनुपर्ने उनको भनाइ थियो।

राष्ट्रिय एकता कायम गर्ने मुख्य जिम्मेवारी प्रधानमन्त्रीकै भएको उल्लेख गर्दै प्रचण्डले सबै राजनीतिक शक्तिलाई विश्वासमा लिएर अघि बढ्न शाहलाई आग्रह गरे।

उनले प्रधानमन्त्री शाहलाई आफूले नेतृत्व गरेको नयाँ राजनीतिक परिस्थितिमा सबैलाई समेटेर अघि बढ्ने अवसर रहेको भन्दै समयमै गम्भीर निर्णय लिन सुझाव दिए। प्रधानमन्त्रीले सबैको विश्वास जित्न नसके समयले कसैलाई पनि नपर्खिने चेतावनीसमेत उनले दिए।

प्रचण्डले अहिलेको संकटलाई राजनीतिक प्रतिस्पर्धाभन्दा माथि राखेर सरकारलाई आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको संकेत गर्दै प्रधानमन्त्रीले पनि सबै राजनीतिक शक्तिलाई समान रूपमा विश्वासमा लिनुपर्नेमा जोड दिए।

प्रचण्डको टिप्पणी : सेना परिचालन गरेर मात्रै विपद्को समाधान हुँदैन, जनपरिचालन आवश्यक

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीबाट उत्पन्न विपद्को सामना गर्न सरकारको वर्तमान कार्यशैली पर्याप्त नभएको संकेत गरेका छन्। उनले यति ठूलो संकटको समाधान केवल सुरक्षा निकाय परिचालन गरेर मात्र सम्भव नहुने भन्दै व्यापक जनपरिचालन र समन्वित प्रयास आवश्यक रहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भइरहेका बेला सरकारको उद्धार तथा व्यवस्थापनको शैलीमा थप सुधार आवश्यक रहेको बताए। उनले संकटको समयमा राज्यका सबै संयन्त्रसँगै राजनीतिक दल, स्थानीय समुदाय, नागरिक समाज र आम नागरिकलाई समेत परिचालन गर्नुपर्नेमा जोड दिए।

प्रचण्डले विपद् व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भूमिका महत्वपूर्ण भए पनि उनीहरूको परिचालन मात्रै पर्याप्त नहुने बताए। प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा खोजीको कामलाई प्रभावकारी बनाउन स्थानीयस्तरमा रहेका जनशक्ति र स्वयंसेवकलाई समेत संगठित गरेर परिचालन गर्नुपर्ने उनको भनाइ थियो।

उनले सरकारको सूचना प्रवाह र संकट व्यवस्थापनको शैलीप्रति पनि प्रश्न उठाए। सामाजिक सञ्जालमा सूचना तथा सन्देश पोस्ट गर्दैमा मात्रै संकट समाधान नहुने टिप्पणी गर्दै उनले सरकारलाई प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा पुगेर जनताको समस्या सुन्न र समाधानमा सक्रिय हुन आग्रह गरे।

प्रचण्डले प्रधानमन्त्रीतर्फ लक्षित गर्दै भने, ‘सोसल मिडियामा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नुभयो, अहिलेको संकट समाधान हुँदैन।’

उनका अनुसार विपद्को समयमा नेतृत्वले सामाजिक सञ्जालमार्फत जानकारी दिनेभन्दा पनि मैदानमा उपस्थित भएर आवश्यक निर्णय लिनुपर्ने हुन्छ। प्रभावित नागरिकलाई तत्काल उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, राहत तथा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारका सबै तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए।

प्रचण्डले संकटको प्रकृति गम्भीर भएकाले राजनीतिक दलहरूबीच पनि सहकार्य आवश्यक रहेको धारणा राखे। विपद्को समयमा सरकार र प्रतिपक्षबीच आरोप–प्रत्यारोपभन्दा माथि उठेर साझा रणनीति बनाउनुपर्ने उनको भनाइ थियो।

उनले प्रभावित क्षेत्रमा अझै सम्पर्कविहीन रहेका नागरिकको खोजीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने, सुरुङ तथा जोखिमपूर्ण क्षेत्रमा फसेकाहरूको उद्धारका लागि आवश्यक प्रविधि र दक्ष जनशक्ति तत्काल परिचालन गर्नुपर्ने तथा राहत वितरणलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।

भोटेकोशी बाढीबाट सडक, पुल, विद्युत्, सञ्चार तथा जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुगेकाले तत्कालीन उद्धारसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणको योजना पनि सँगसँगै अघि बढाउनुपर्ने प्रचण्डले बताए।

उनले यस्तो विपद् कुनै एउटा क्षेत्र वा समुदायको मात्रै समस्या नभएको उल्लेख गर्दै राष्ट्रिय संकटका रूपमा लिएर राज्यका सबै शक्ति र नागरिकलाई एकीकृत ढंगले परिचालन गर्नुपर्नेमा जोड दिए। सरकारको नेतृत्वले जनतामा भरोसा पैदा गर्ने गरी काम गर्नुपर्ने र प्रभावित नागरिकलाई आफूहरू एक्लो नभएको अनुभूति दिलाउनुपर्ने उनको भनाइ थियो।

प्रचण्डले विपद्को सामना गर्न सरकारलाई आवश्यक सहयोग गर्न राजनीतिक दलहरू तयार रहेको संकेत गर्दै तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे। उनका अनुसार अहिलेको मुख्य प्राथमिकता राजनीतिक लाभ वा प्रचार नभई नागरिकको जीवन रक्षा, उद्धार, राहत र पुनर्स्थापना हुनुपर्छ।

‘सोसल मिडियामा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नुभयो, अहिलेको संकट समाधान हुँदैन’

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीबाट सिर्जित संकट समाधानमा सरकारको कार्यशैली प्रभावकारी नभएको संकेत गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले सेना परिचालन गरेर मात्रै विपद्को सामना गर्न नसकिने भन्दै राज्यका सबै संयन्त्रसँगै व्यापक जनपरिचालन आवश्यक रहेको बताए।

उनले सामाजिक सञ्जालमा पोस्ट गरेर मात्रै संकट समाधान नहुने टिप्पणी गर्दै सरकारलाई प्रचारभन्दा विपद् व्यवस्थापनमा केन्द्रित हुन सुझाव दिए।

‘सोसल मिडियामा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नुभयो, अहिलेको संकट समाधान हुँदैन,’ प्रचण्डले भने।

उनले विपद्को गम्भीरतालाई बुझेर सरकार, राजनीतिक दल, सुरक्षा निकाय र नागरिक सबैको संयुक्त प्रयास आवश्यक रहेको बताए।

फाेर्सले बाढी प्रभावित नागरिकलाई खुवाउन थाल्याे नि:शुल्क खाना

बट्टार । नुवाकोटकाे बट्टारस्थित दम्कीमा भाेटेकाेशी-त्रिशूली बाढी प्रभावित नागरिकहरूलाई `नि:शुल्क खाना´ दिन थालिएको छ । नेशनल भाेलेन्टियर्स फाेर्सले बुधबारदेखि मानवीय सहायता गर्ने उद्देश्यले नि:शुल्क खाना दिन थालिएको हाे ।

फाेर्सका प्रमुख कमान्डर पुष्पराज श्रेष्ठले कम्तिमा एक महिनासम्म नि:शुल्क खाना खुवाउने बताए ।

‘बाढी प्रभावित हाम्रै दाजुभाइ दिदीबहिनीहरू महाविपत्तिमा पर्नुभयाे । उहाँहरूसँग यतिबेला केही पनि छैन,´ उनले नेपालवान एचडीसँग भने, `दु:खकाे याे बेला उहाँहरूलाई खाना खुवाएर सहायता गर्दैछाैं । हामी कम्तिमा एक महिना खाना खुवाउँछाैं । आवश्यक परे अझै बढी समय खाना खुवाउँछाैं ।’

उनका अनुसार बुधबारदेखि नै बाढी प्रभावित नागरिकहरूलाई खाना खुवाउन थालिएकाे छ ।खानाका लागि चामल, दाललगायतका खाद्य वस्तुहरू फाेर्समै आबद्ध युवा तथा केही दाताहरूले दिएकाे आर्थिक सहायताले खरिद गरिएको फाेर्सले जनाएको छ ।

फाेर्स नेकपा एमाले निकट संगठन हाे ।

विपद् सामना गर्न एमालेका ७ बुँदे प्रस्ताव : विशेष टास्क फोर्सदेखि ‘सगरमाथा संवाद’सम्म

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्राकृतिक विपद्बाट उत्पन्न संकट सामना गर्न सरकारसमक्ष सातबुँदे प्रस्ताव अघि सारेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै थापाले रसुवामा आएको विनाशकारी बाढी प्रकृतिजन्य विपद् मात्र हो कि मानवीय कमजोरीबाट सिर्जित दुर्घटना हो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए।

हरेक वर्ष बाढी र पहिरोको विनाश भोग्नुपर्ने अवस्था अन्त्य गर्न राज्यले आफ्नो विपद् व्यवस्थापन प्रणालीमै परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो। त्यसका लागि उनले सातवटा बुँदामा तत्काल दृढ संकल्प आवश्यक रहेको बताए।

बादलका सात प्रस्ताव :

१. सरकार संसद्प्रति थप उत्तरदायी बन्नुपर्ने
प्रधानमन्त्रीको नेतृत्वशैलीमा सुधार गर्दै सरकार संसद्प्रति पूर्ण उत्तरदायी हुनुपर्ने र सरकारका योजना तथा कामबारे संसद्लाई निरन्तर जानकारी गराउनुपर्ने।

२. सर्वपक्षीय संयन्त्र गठन गर्नुपर्ने
विद्यमान संकट सामना गर्न राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सहभागी सर्वपक्षीय संयन्त्र निर्माण गर्न सरकारलाई पहल गर्नुपर्ने।

३. विशेष संसदीय समिति गठन गर्नुपर्ने
सरकारको कामलाई सचेत गराउन तथा आवश्यक सहयोग गर्न सभामुखले विशेष संसदीय समिति गठन गर्नुपर्ने।

४. अन्तर्राष्ट्रिय सहयोगका लागि विशेष कार्यदल
अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति र समन्वयका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने।

५. उद्धार–राहतका लागि युनिफाइड टास्क फोर्स
युद्धस्तरमा खोज, उद्धार र राहत सञ्चालन गर्न रक्षामन्त्रीको नेतृत्वमा ‘युनिफाइड स्पेशल टास्क फोर्स’ गठन गर्नुपर्ने।

६. पुनर्निर्माणका लागि छुट्टै संयन्त्र
विपद्बाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल बनाउनुपर्ने।

७. ‘सगरमाथा संवाद’लाई निरन्तरता दिनुपर्ने
जलवायु परिवर्तनबाट सिर्जित संकट सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता जुटाउने तथा आवश्यक रणनीति तय गर्न ‘सगरमाथा संवाद’को दोस्रो संस्करण अघि बढाउनुपर्ने।

रास्वपा उपनेता पराजुली : नेपाल शोकमा छ, तर बन्द भएको छैन

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपत्तिका कारण नेपाल शोकमा रहे पनि देश पूर्ण रूपमा बन्द नरहेको जनाएको छ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले विपत्तिको कठिन परिस्थितिबीच पनि नेपालले विश्व समुदायलाई स्वागत गर्ने वातावरण कायम राखेको बताए।

उनले सुरक्षित गन्तव्यबारे सम्बन्धित निकायबाट प्राप्त आधिकारिक तथा अद्यावधिक सूचना लिएर विदेशी पर्यटकलाई नेपाल भ्रमण जारी राख्न आग्रह गरे। पर्यटन क्षेत्रलाई चलायमान राख्नु अहिलेको अवस्थामा नेपालको पुनरुत्थानमा विश्व समुदायले गर्न सक्ने महत्वपूर्ण सहयोग हुने उनको भनाइ थियो।

पराजुलीले नेपालले अन्तर्राष्ट्रिय समुदायसँग केवल सहानुभूति नभई जलवायु परिवर्तनबाट परेको असमान क्षतिको न्यायसमेत मागिरहेको बताए। जलवायु संकट सिर्जनामा नेपालको भूमिका न्यून भए पनि त्यसको ठूलो मूल्य नेपाली नागरिकले चुकाइरहेको उनले उल्लेख गरे।

नेपालका बाढीपीडितको सहयोगमा दक्षिण कोरियाली अभिनेता जंग इल-वू

काठमाडौं । दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा बालबालिकाको सहयोगमा जुटेका छन्।

गुड नेबर्सले बुधबार अभिनेता इल-वूले बाढीपछिको पुनःस्थापना तथा विस्थापित परिवारको सहयोगका लागि आर्थिक सहायता प्रदान गरेको जनाएको छ। उक्त सहयोग नुवाकोट, गोरखालगायत बाढीबाट बढी प्रभावित क्षेत्रमा आपतकालीन राहतका लागि परिचालन गरिनेछ।

गुड नेबर्सले यसअघि नै प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका काम सुरु गरिसकेको छ। नुवाकोटका विस्थापित परिवारलाई खाद्यान्न, अत्यावश्यक घरायसी सामग्री र सरसफाइका सामग्री उपलब्ध गराउँदै आएको संस्थाले जनाएको छ।

बाढी प्रभावित बालबालिकाको पुनःस्थापनाका लागि संस्थाले बालमैत्री स्थल सञ्चालन गर्नुका साथै उनीहरूलाई आवश्यक मनोसामाजिक सहयोगसमेत उपलब्ध गराइरहेको छ।

इल-वूको यो सहयोगसँगै उनी गुड नेबर्सको विशेष दाता समूह ‘द नेबर्स क्लब’मा समेत आबद्ध भएका छन्। वार्षिक कम्तीमा १० मिलियन वन सहयोग गर्ने तथा नियमित रूपमा योगदान गर्ने दाताहरूलाई उक्त समूहमा समेटिने बताइएको छ।

इल-वूले प्राकृतिक विपद्बाट प्रभावित नेपाली नागरिक र बालबालिकालाई आफूले सकेको सहयोग गर्न चाहेको बताएका छन्। उनले बाढी प्रभावित क्षेत्र छिट्टै पुनःस्थापित भई पीडितहरू सामान्य दैनिकीमा फर्कन सकून् भन्ने कामना पनि गरेका छन्।

गुड नेबर्सले प्रभावित क्षेत्रको अवस्थाको निरन्तर अनुगमन गर्दै आपतकालीन राहत र बालबालिका केन्द्रित सहयोग कार्यक्रमलाई अघि बढाउने जनाएको छ।