`

महासचिवमा शंकर पोखरेलको प्रारम्भिक अग्रता

काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक परिणाम आएको छ । निर्वाचन आयोगले २२३ मत गणना गरेर प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । जसअनुसार महासचिवमा शंकर पोखरेलले ११७ मत प्राप्त गर्दा अर्का प्रत्यासी सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त परेका छन् । अध्यक्षमा भने केपी शर्मा ओलीले १५६ र ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् ।

प्रारम्भिक चरणको मत
अध्यक्ष
केपी शर्मा ओली – १५६
ईश्वर पोखरेल – ६७

उपाध्यक्ष
अरुण नेपाल – ३८
गुरु प्रसाद बराल – १०९
गोकर्ण राज विष्ट – १३३
टकं प्रसाद कार्की – ४३
पर्शुराम मेघि गुरुङ्ग – ४७
प्रथवि सुव्वा गुरुङ – १७१
भिम प्रसाद आचार्य – २७
रघु जी पन्त – १२३
रामबहादुर थापा बादल ः १५३
विन्दा पाण्डे – ९८
विष्णु प्रसाद पौडेल – १७३

महासचिव
शंकर पोख्रेल – ११५
सुरेन्द्र प्रसाद पाण्डे -१०८

उपमहासचिव
आनन्द प्रसाद पोख्रेल – ७१
योगेस भट्टराइ – १४०
रघुविर महासेठ – १२६
राजेन्द्र प्रसाद गौतम – २६
लेखराज भट्ट – १४७
विष्णु प्रसाद रिमाल – १०५
वैजनाथ चौधरी – ५४

सचिव
अग्नि प्रसाद खरेल – ७७
इन्द्रलाल साप्कोटा – ४१
कर्णबहादुर थापा – ९३
कृष्ण गोपाल श्रेष्ठ – ५९
खगराज अधिकारी – १३२
गोकुल प्रसाद बास्कोटा – १०४
छविलाल विश्वकर्मा – १४५
ठाकुर प्रसाद गैरे – ९३
पद्मा कुमारी अर्याल – १५२
पुर्सोतम पौडेल – ५९
पेम्वा लामा – ५०
भानुभक्त ढकाल – १०७
महेश बस्नेत – १५०
यमलाल कडेल –
रचना खड्का – ८३
राजन भट्टराइ – ११३
लाल बाबु पण्डित – ७३
विनोद प्रसाद ढकाल – ८२
शेरधन राई – १४१
हिक्मत कुमार कार्की – १३८

एमाले मत गणना : दुबैतर्फ पाँच–पाँच जना प्रतिनिधि

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान प्रक्रिया सकिएसँगै केहीबेर अघिबाट मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार, अबको करिब ३ घण्टामा अन्तिम मत परिणाम आउनेछ । आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, मत गणनामा दुवैतर्फका उम्मेदवारहरूको तर्फबाट ५-५ जना प्रतिनिधि राखिएको छ । ‘हामीले मतगणना प्रारम्भ गरेका छौं । मतगणनाका लागि एउटा व्यवस्था गरेका छौं । दुई वटै उम्मेदवारको तर्फबाट ५–५ जना प्रतिनिधि राखेका छौं,’ उनले भने ।

ती प्रतिनिधिहरूमा राजनीतिक व्यक्तित्वको रुपमा दुई र अरु प्राविधिकको रुपमा दुई जना पनि राखिएको उनले जानकारी दिए । ‘अन्य एसिस्टेन्टको रुपमा पनि राखेका छौं । मेशिनका प्राविधिक र निर्वाचन आयोगका सदस्य हुनुहुन्छ,’ पोखरेलले भने । प्राविधिकले दिएको जानकारी अनुसार, सबै मतपरिणाम सार्वजनिक गर्नका लागि ३ घण्टा लाग्ने उनले जानकारी दिए । जसका लागि १० वटा बुथको स्थापना गरिएको छ ।

 

एमाले महाधिवेशन : आज अध्यक्ष र दुई आयोगका अध्यक्षको मात्र शपथ

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेशिनमार्फत भएको मतदान बिहीबार बिहान सम्पन्न भएपछि गणनाको प्रक्रिया अघि बढाइएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार मतगणना औपचारिक रूपमा सुरु भइसकेको छ । आयोगका अध्यक्ष विजय सुब्बाले विद्युतीय प्रणाली भएकाले दुईदेखि तीन घण्टाभित्र नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् । उनका अनुसार अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको परिणाम एकैसाथ सार्वजनिक हुनेछ ।

निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ मत खसेका छन् । विभिन्न कारणले ३६ प्रतिनिधि मतदानमा सहभागी हुन सकेनन् । मतदान बुधबार बिहान ९ः२० बजे सुरु भई करिब २१ घण्टापछि बिहीबार बिहान ७ बजे सम्पन्न भएको थियो ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिष्पर्धामा छन् । दुवै प्यानल बाहिर रहेकाहरूले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैबीच केन्द्रीय लेखा आयोगका अध्यक्षमा पुष्पराज कँडेल र केन्द्रीय अनुशासन आयोगका अध्यक्षमा प्राध्यापक डा. भरतराज पहारी निर्विरोध निर्वाचित भइसकेका छन् । नतिजा सार्वजनिक भएपछि आजै पार्टी अध्यक्ष तथा दुई आयोगका अध्यक्षलाई शपथ ग्रहण गराइने निर्वाचन आयोगले जनाएको छ। प्रमाणपत्र वितरण भने आज नहुने र अन्य प्रक्रिया पछि अघि बढाइने बताइएको छ । एमाले महाधिवेशनको सबैभन्दा चासोको विषय बनेको अध्यक्ष पदको नतिजाले पार्टीको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

योगेश भट्टराईको दावी : एमाले फुट्दैन, महाधिवेशनपछि झन् मजबुत बन्छ

काठमाडौं । नेकपा (एमाले) का निवर्तमान सचिव तथा उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले पार्टी विभाजनको चर्चा निराधार भएको बताएका छन् । महाधिवेशनपछि एमाले झन एकताबद्ध र बलियो भएर अघि बढ्ने उनको दाबी छ । मत गणनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले महाधिवेशनपछि एमाले फुट्छ भन्ने आशा राख्नेहरूलाई कडा सन्देश दिए । उनले भने, ‘यो महाधिवेशनबाट एमाले फुट्छ भन्ने कसैले सोचेको छ भने, उसको हातमा केही पर्दैन । हामी महाधिवेशन हलमै जति मिलेको देखियौं, चुनावी नतिजापछि त्यसभन्दा बढी मिलेर देखिन्छौं ।’

भट्टराईका अनुसार एमाले कुनै व्यक्ति वा समूहले होइन, कार्यकर्ताले जोगाएर ल्याएको पार्टी हो । त्यसैले महाधिवेशनपछि विभाजन हुन्छ भन्ने प्रश्न नै अप्रासंगिक भएको उनले बताए । ‘एमाले फुट्छ भन्ने प्रश्नलाई हामी पूर्ण रूपमा खारेज गर्छौ’, उनले भने । उनले निर्वाचनबाट आउने नयाँ नेतृत्वले पार्टीलाई थप व्यवस्थित, अनुशासित र जनमुखी बनाउने विश्वास व्यक्त गरे । महाधिवेशनपछि एमाले सबै किसिमका राजनीतिक चुनौतीको सामना गर्न सक्षम भएर जनतामाझ जाने उनले दाबी गरे । भट्टराईले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, प्रतिष्पर्धा र बहसलाई कमजोरी होइन, एमालेको शक्ति भएको उल्लेख गर्दै महाधिवेशनले त्यसलाई अझ सुदृढ बनाएको बताए ।

पटक–पटकको स्थगनपछि आज रवि र छविको मुद्दा पेसीमा

काठमाडौं । सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज (बिहीबार) सुनुवाइ हुँदैछ । उच्च अदालत बुटवलमा दायर गरिएको पुनरावेदन निवेदनमाथि आज बिहीबारका लागि पेसी तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । यसअघि पटक–पटक स्थगित हुँदै आएको सुनुवाइ प्रक्रिया आज भने अघि बढ्ने अपेक्षा गरिएको छ ।

यसअघि गत साता यो मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो भने त्यसभन्दा अगाडि दुई पटक लामिछाने पक्षका कानुन व्यवसायीहरूको निवेदनका आधारमा सुनुवाइ स्थगित गरिएको थियो । सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते लामिछाने र जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

उक्त आदेशमा लामिछानेले आफ्नो भागको बिगो रकम बुझाउन मञ्जुर हुँदाहुँदै पनि अदालतले रिहा गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालतको उक्त आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै लामिछानेका तर्फबाट गत भदौ ९ गते उच्च अदालत बुटवलमा पुनरावेदन (७३ नम्बर) निवेदन दर्ता गराइएको थियो । सोही निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो । आजको इजलासले जिल्लाको आदेश सदर गर्छ वा उनीहरूलाई धरौटी वा साधारण तारेखमा रिहा गर्ने आदेश दिन्छ, त्यसैमा सबैको चासो केन्द्रित छ ।

 

एमाले नेतृत्व चयन : मेशिनको चिप्स झिकेर मुचुल्का तयार गरिँदै, सबै परिणाम एकसाथ सुनाइने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । बिहीवार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरुले नेतृत्वका लागि मतदान गरेसँगै मतदान सकिएको हो । मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा भएको छ ।

अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ । अहिले ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । चिप्स निकालिसकेपछि मतगणना शुरु हुनेछ । ८० वटा मेसिनको प्रत्येकको फरक फरक मुचुल्का खडा गरिने र मतपत्र गणना र मेशिनमा खसेको मतको गणना गर्दा मिल्नु पर्ने हुन्छ । प्रत्यके मेशिनको मुचुल्का खडा गर्न एउटा मेसिनको मचुल्काका लागि दुई मिनेट लाग्ने अनुमान छ । कुल ८० मेशिनको १ सय ६० मिनेट मुचुल्का खडा गर्न समय लाग्नेछ ।

त्यसपछि मेसिन लक गर्ने र मेशिनको अलग–अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ । सेन्टर कलेक्शनपछि सर्वपक्षीय बैठक बसिसकेपछि मात्रै नतिजा सुनाइने एमालेले जनाएको छ । ८ बजेबाट मत गणना प्रारम्भ गर्ने र त्यसको तीन घण्टाभित्र नतिजा घोषणा गर्न सकिने बताइएको छ । महाधिवेशनस्थलमा रहेका एमाले नेता ठाकुरप्रसाद गैरेले मतदानको प्रक्रिया शुरु भएपछि सम्पन्न हुन दुई दिन समय लागेको र ८० वटा मेशिनबाट मतदान भएको र एउटा मेशिनबाट एक जनाले मतदान गर्दा सवा घण्टासमेत लागेको बताए । छिटो छरितो कसरी गर्ने भन्ने बारेमा स्पष्ट भएको बताए । प्रविधिको प्रयोगमा चुस्ततामा कमी रहेको र धेरै कुरा विकास गर्न बाँकी रहेको अनुभव भएको बताए । उनले समयमै मतदान सम्पन्न गर्न चिसो, जाडो सहेर भएपनि मतदान नरोकी सम्पन्न गरिएको बताए ।

कसरी भइरहेको छ एमालेमा मतगणना?

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा बिहीबार बिहान मतदान सकिएपछि अहिले मतगणना सुरू भएको छ । बुधबार बिहान ९ बजे सुरू भएको मतदान झन्डै २२ घण्टामा सकिएको थियो ।

२२६३ प्रतिनिधि रहेको महाधिवेशनमा २२२७ जनाले १९ पदाधिकारी सहित ३०१ केन्द्रीय सदस्य र केन्द्रीय विभागका लागि मतदान गरेका छन् ।  निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहबीच प्रतिस्पर्धा छ ।

८० वटा मेसिनबाट भएको मतदानको मतगणना गर्न केही घण्टा मात्रै लाग्ने पार्टी निर्वाचन आयोगले जानकारी दिएको छ। विद्युतीय मतदान भए पनि यी सबै मेसिनलाई एक आपसमा जोडिएको छैन ।

८० वटा मेसिनको प्रत्येकको फरक फरक मुचुल्का खडा गरिने र मतपत्र गणना र मेसिनमा खसेको मतको गणना गर्दा मिल्नुपर्ने हुन्छ । प्रत्यके मेसिनको मुचुल्का खडा गर्न एउटा मेसिनको मचुल्काका लागि दुई मिनेट लाग्ने अनुमान छ । कुल ८० मेसिनको १ सय ६० मिनेट मुचुल्का खडा गर्न समय लाग्नेछ । त्यसपछि मेसिन लक गर्ने र मेसिनको अलग अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ ।

सबै मेसिनमा परेको मत अलगअलग गणना गरिने छ। यसका लागि पहिले मेसिनका चीपहरू निकालेर कम्प्युटरमा डेटा सारिन्छ । यसपछि यी डेटाको मतपरिणाम हेरिन्छ ।

मतपरिणाम तयार भएपछि सर्वपक्षीय बैठक बस्नेछ र यसपछि नतिजा सुनाइने एमालेले जनाएको छ ।

यसका लागि तीन देखि चार घण्टा लाग्ने आयोगले जनाएको छ ।

एमाले महाधिवेशन : मतगणनाको घडी सुरु, कति बजेसम्ममा आउला नतिजा ?

काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएसँगै मत गणनाको तयारी तीव्र पारिएको छ। साढे २१ घण्टा लामो मतदान प्रक्रिया बिहीबार बिहान करिब ७ बजे सकिएको हो ।

केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार बुधबार बिहान ९ः२० बजे विद्युतीय भोटिङ मेसिनमार्फत सुरु भएको मतदान निर्धारित समयभन्दा लामो समय चलेर आज बिहान सम्पन्न भएको हो । मतदान सकिएलगत्तै मतगणनाको तयारी थालिएको र आवश्यक प्राविधिक तथा प्रक्रियागत काम पूरा भएपछि गणना सुरु गरिने उनले जानकारी दिए । उनका अनुसार मतगणना सुरु भएको करिब दुईदेखि तीन घण्टाभित्र प्रारम्भिक परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।

यसैबीच केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले पनि मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको पुष्टि गर्दै बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको जानकारी दिए । मतगणनाअघि मुचुल्का उठाउने र उम्मेदवार तथा प्रतिनिधिबीच आवश्यक सहमति कायम गर्न केही समय लाग्ने भएकाले नतिजा आउन तीन घण्टा जति लाग्न सक्ने उनको भनाइ छ ।

महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकामा २ हजार २ सय २७ जनाले मात्र मतदान गरेका छन् । विभिन्न कारणले ३६ जना प्रतिनिधि मतदानमा सहभागी हुन नसकेको निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो ।

नयाँ नेतृत्व चयनका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । यस बाहेक दुवै प्यानलमा नअटाएका केही उम्मेदवारहरूले स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिएका छन् । ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि करिब ६४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । लामो समय चलेको मतदानपछि अब सबैको चासो मतगणनाको परिणामतर्फ केन्द्रित भएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा मतगणनाको अन्तिम तयारी भइरहेकाले आजै नयाँ नेतृत्वको चित्र स्पष्ट हुने अपेक्षा गरिएको छ ।

एमाले चुनाव : उम्मेदवार बनेकै नेताले गरेनन् मतदान

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नेतृत्व चयनका क्रममा एउटा अनौठो र चासोपूर्ण घटना सार्वजनिक भएको छ । केन्द्रीय सदस्यका उम्मेदवार रहेका नेताले नै मतदान प्रक्रियामा भाग नलिएको तथ्य बाहिर आएको हो ।

गुल्मीका राजेन्द्र अर्याल, जो महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार थिए, उनले मतदान नगरेको केन्द्रीय निर्वाचन आयोगको विवरणमा देखिएको छ । मतदानमा अनुपस्थित उम्मेदवारको सूचीमा उनको पनि नाम देखिएपछि अर्यालसँग सम्पर्क गर्दा उनले यसलाई ‘नो भोट’ को रूपमा व्याख्या गरे ।

अर्यालले भने, ‘मैले नो भोटको सदुपयोग गरें । नेताहरूले अन्तिम सूचीमा नपारेपछि म पनि घर आएर आराम गरें । कहिलेकाहीँ भोट नहाल्नु पनि एउटा सन्देश हुन्छ।’ प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष रहेका अर्याल र निवर्तमान अध्यक्ष गणेश बस्नेत दुवै केन्द्रीय सदस्यका उम्मेदवार थिए । दुवै जना अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका भए पनि उनीहरू ओली प्यानलको औपचारिक उम्मेदवार सूचीमा समेटिएका थिएनन् । यही कारण मतदानप्रति उनीहरूको उत्साह कमजोर बनेको नेताहरूको बुझाइ छ ।

पार्टीभित्र प्यानल राजनीति हाबी हुँदै जाँदा योगदान र अनुभवभन्दा पनि गुटीय समीकरण प्राथमिकतामा परेको भन्दै केही नेता असन्तुष्ट देखिएका छन् । उम्मेदवार भएर पनि मतदान नगर्नु पार्टीभित्रको असन्तोष र निराशाको संकेत भएको टिप्पणी समेत सुरु भएको छ । एमालेको महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा केन्द्रित रहे पनि यस्ता घटनाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, समावेशिता र प्यानल संस्कृतिमाथि पुनः प्रश्न उठाएको छ ।

सकियो एमालेको मतदान, ३६ प्रतिनिधि अनुपस्थित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि गरिएको मतदान प्रक्रिया सम्पन्न भएको छ । काठमाडौंस्थित भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान करिब पौने ७ बजे टुंगिएको हो । लामो समयसम्म चलेको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनका लागि कुल २ हजार २ सय ६३ जना प्रतिनिधि चयन भए पनि सबैको सहभागिता भने हुन सकेन । निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार जम्मा २ हजार २२७ मत मात्र खसेका छन् । उनका अनुसार ३६ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुन अनुपस्थित रहे । ‘कुल प्रतिनिधिमध्ये २ हजार २२७ मत खसेको छ भने ३६ जना अनुपस्थित हुनुहुन्छ’, उनले जानकारी दिए ।

मतदानका लागि भृकुटीमण्डप परिसरमा ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिएको थियो । ठूलो संख्यामा प्रतिनिधि सहभागी भएकाले मतदान प्रक्रिया व्यवस्थित बनाउन इलेक्ट्रोनिक प्रणाली अपनाइएको निर्वाचन समितिको भनाइ छ । लामो समयसम्म चलेको मतदानका क्रममा कुनै ठूलो अवरोध वा विवाद नआएको जनाइएको छ ।

मतदान सकिएसँगै अब मतगणनाको अन्तिम तयारी पूरा भइसकेको छ । निर्वाचन समितिका अनुसार मतपरिणाम आजै सार्वजनिक गरिनेछ । बिहान ११ बजे भृकुटीमण्डपमै औपचारिक कार्यक्रम आयोजना गरी मतपरिणाम घोषणा गर्ने, निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने तथा शपथग्रहण गराउने कार्यतालिका तय गरिएको छ ।

एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिष्पर्धामा छन् । दुवै नेताले आ–आफ्ना प्यानलसहित उम्मेदवारी दिएका छन् भने केही प्रतिनिधिहरूले प्यानल बाहिर रहेर स्वतन्त्र उम्मेदवारीसमेत दर्ता गराएका छन् । यस महाधिवेशनलाई एमालेको आगामी राजनीतिक दिशा र नेतृत्व संरचना तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार यी हुन् अनुपस्थित :

केन्द्रीय कमिटी
१. मुकुन्द न्यौपाने
२. बसन्त नेम्वाङ
३. बालकृष्ण काउछा मगर
४. ब्रिजेश गुप्ता
५. राजकुमार गुप्ता
६. हरि बहादुर राजवशी

अनुशासन आयोग
१. पोष्ट कुमार नेपाल
२. सरस्वती गौतम
३. सतिलाल राजवंशी
४. प्रदीप प्याकुरेल (सुशील)
(उपस्थित तर कार्ड नभएको)

निर्वाचन आयोग
१. समिर नेपालल
२. रचना राजोपाध्याय

लेखा आयोग
१. अशोक केसी

विभाग
१. धनश्याम कोइराला
२. संजीव रोकाहा

महाधिवेशन प्रतिनिधि

१. कृष्णमाया भुजेल (झापा)
२. लक्ष्मी यादव (बारा)
३. शत्रुधन प्रसाद सिंह (सिरहा
४. राजेन्द्र प्रसाद यादव (पर्सा)
५. अशु आनन्द (पर्सा)
६. मनोजकुमार गुप्ता (पर्सा)
७. विजय कापर (सप्तरी)
८. जितेन्द्र चौधरी (महोत्तरी)
९. दानबहादुर बिक
१०. बब्लु शिवाकोटी
११. सिर्जना नेपाली (प्रवास)
१२.अशिम कोइराला
१३. दिनेश बास्तोला
१४. गिरिराज बेलबासे
१५. राजेन्द्र अर्याल
१६. मिना पोख्रेल
१७. तेजकुमार विक
१८. पल्लवराज भट्ट
१९. तिलक रिजाल
२०. गोमा नेपाली

एमाले मतदानस्थलबाट योगेश भट्टराई : म अन्तिम मतदाता !

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा उपमहासचिवका उम्मेदवार योगेश भट्टराईले आफू अन्तिम मतदाता भएको बताएका छन्।आज (बिहीबार) बिहान पौने ६ बजेतिर उनले फेसबुकमा लेखेका छन्, ‘म अन्तिम मतदाता !’

यस्तो लेखेर उनले काठमाडौँको भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजेदेखि जारी मतदान सकिँदै गरेको संकेत गरेका छन् । आज बिहान ५ः४३ बजे एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले अब सय जति मत खस्न बाँकी रहेको जानकारी दिएका छन् ।

उनले भने, ‘सबै जना भित्र पसिसक्नु भएको छ, अब मेसिनमा सय जति मत खस्न बाँकी होला । अरू एक घण्टा लाग्ला ।’ एमाले महाधिवेशनमा कुल २ हजार २६३ मतदाता छन् । जारी महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् । योगेश ईश्वर समूहबाट उपमहासचिव पदमा उठेका हुन् ।

एमाले महाधिवेशन: मतदान सकियो, केही घण्टामा परिणाम

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वका लागि भइरहेको मतदान सकिएको छ । बुधबार बिहान नौ बजे सुरू भएको मतदान बिहिबार बिहान साढे ६ बजे तिर सकिएको हो ।

जम्मा २२६३ प्रतिनिधि रहेकोमा २२२७ जनाले मतदान गरेका छन् । ३६ जना महाधिवेशन प्रतिनिधि भने अनुपस्थित रहे ।

विद्युतीय मेसिनबाट गरिएको मतदानको परिणाम केही घण्टाभित्रै सार्वजनिक हुने छ ।

आगामी पाँच वर्ष एमालेको नेतृत्व गर्नका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिपस्पर्धामा होमिएका छन् ।

महाधिवेशनले १९ जनाको पदाधिकारी सहित ३०१ जनाको केन्द्रीय कमिटी निर्वाचित गर्ने छ ।

 

एमाले महाधिवेशनको मतदान सुस्त, रातभरमा पनि नसकिने संकेत

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान अपेक्षाकृत निकै सुस्त गतिमा अघि बढिरहेको छ । लामो मतपत्र, धेरै उम्मेदवार र प्यानलको सूची हेर्दै मतदान गर्नुपर्ने बाध्यताका कारण मतदान प्रक्रिया ‘कछुवा गति’ मा अगाडि बढिरहेको छ । बुधबार बिहान सवा ९ बजेबाट शुरू भएको मतदान साँझ ५ बजेसम्म आइपुग्दा जम्मा ८०२ प्रतिनिधिले मात्रै मत हालेका छन् । महाधिवेशनमा कुल २ हजार २ सय ६२÷६३ प्रतिनिधि रहेका छन् । मतदानको यही रफ्तार कायम रहेमा प्रक्रिया रातभरि मात्र होइन, भोलि बिहानसम्म पनि लम्बिन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन् ।

विद्युतीय भोटिङ मेसिन सञ्चालनमा संलग्न राम–लक्ष्मणमध्येका रामका अनुसार सुरुमा फोटो र नाम हेरेर मतदान गर्दा प्रक्रिया छिटो हुने अपेक्षा गरिएको थियो । तर, अध्यक्षसहित सबै पदमा उम्मेदवारहरूको संख्या धेरै हुनु, साथै केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षधरले आ–आफ्नो प्यानल सूची बोकेर मतदान गर्न जाँदा मतदाताहरू अल्मलिन पुगेका छन् ।

उनका अनुसार प्यानल सूची नबोकी मतदान गर्न जानेले २०–३० मिनेटमै प्रक्रिया पूरा गरेका छन् भने सूची बोकेर जानेले डेढ घण्टासम्म समय खर्चिएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले साँझ ५ बजेसम्म ८०२ मत खसेको पुष्टि गर्दै एक मतदाताले औसतमा ३५ मिनेट समय लिएको जानकारी दिए । उनका अनुसार छिटो मतदान गर्नेले ९ मिनेटमै सकाएका छन् भने ढिला गर्नेले २ घण्टासम्म समय लिएका उदाहरण पनि छन् ।

महाधिवेशनमा ६४२ जना उम्मेदवारबाट ३०१ केन्द्रीय सदस्य, १९ पदाधिकारी तथा अनुशासन र लेखा आयोगका पदाधिकारी चयन गर्नुपर्ने भएकाले मतपत्र निकै लामो बनेको छ । यही कारण मतदान प्रक्रिया जटिल बनेको आयोगका अधिकारीहरूको निष्कर्ष छ । एक निर्वाचन अधिकारीले भने, ‘यही गतिमा मतदान भयो भने अझै कम्तीमा १० घण्टा लाग्ने देखिन्छ । रातभरिमा टुंग्याउन पनि गाह्रो हुन सक्छ ।’ अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच कडा प्रतिष्पर्धा भइरहेको छ । मंसिर २८ गतेदेखि शुरू भएको एमाले महाधिवेशन नयाँ नेतृत्व चयनसँगै समापन गर्ने तयारी भए पनि मतदानको सुस्तताले तालिका प्रभावित हुने संकेत देखिएको छ ।

 

 

 

कोदो, मकै फल्ने बारी बन्यो सुन्तला बगैँचा, बर्षकै १५ लाख कमाई

स्याङ्जा।  स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका छन् ।

सन्ताउनन वर्ष पहिला कोदो, मकै फल्ने बारीमा बुवाले थालेका  सुन्तला खेतीलाई बिस्तार गर्दै उनले आम्दानी लिन थालेका हुन् । कोदो, मकैबाट भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखेर थालिएको सुन्तला खेती अहिले आम्दानीको मुख्य स्रोतका रूपमा रहेको छ ।

विसं २०७५ सालदेखि व्यावसायिक रूपमा सुन्तला खेती गर्ने भएका सेनले सुन्तलाको बगैँचा बिस्तारमा जोड दिँदै हाल ३६ रोपनीमा व्यावसायिक रूपमा खेती गर्दै आएका छन् । उनले यसवर्ष ३०० सुन्तलाका बोटमा फलेको सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका हुन् ।

‘छत्तिस रोपनी क्षेत्रफलमा फैलिएको सुन्तला बगैँचामा रहेको बोटहरुमध्ये यसवर्ष ३०० बोटमा मात्रै उत्पादन भएको हो’ उनले भने, ‘स्थानीय स्याङ्जाकै सुन्तला व्यापारीलाई बोट नै १५ लाखमा ठेक्कामा दिएको हुँ ।’

स्थानीय सुन्तला व्यापारीले बगैँचाबाट सुन्तला टिप्ने, ढुवानी तथा बजारीकरणको काम गरेका हुन् । बगैँचामा पुराना ३०० र नयाँ एक हजार ५० गरी एक हजार ३५० वटा सुन्तलाका बोट रहेका छन् । नयाँ बोट फल्नेक्रममा रहेकाले आगामी वर्षमा उत्पादन र आम्दानी सँगसँगै वृद्धि हुँदै जाने उनले बताएका छन् ।

उनको बगैँचामा स्थानीय जातका सुन्तला र धनकुटाबाट ल्याएर लगाएका ‘खोकु’ जातका सुन्तलाका बोटहरु छन् । ‘यहाँ उत्पादन भएको सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन’उनले भने, ‘उत्पादन हुनुपर्‍यो स्थानीय तथा पोखरालगायतका ठाउँका व्यापारी बगैँचामै आउने गरेका छन् ।’ किसानले सुन्तलाको बोट नै वा फुटकरमा दुबै तरिकाले सुन्तला बिक्री गर्ने गरेका छन् ।

बारीमा निर्वाहमुखी रूपमा उत्पादन हुने कोदो तथा मकैले गुजारा चलाउँदै आएका स्थानीय कोदो तथा मकैको विकल्पका रूपमा गरिएको सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गईरहेका छन् ।

‘बुवाले सुरुमा परीक्षणका रूपमा २५ वटा बोट लगाएका थिए, केही वर्ष राम्रो फल्यो अनि बिस्तारै बोट मर्दै गए’ उनले भने, ‘पहिला लगाएका बोटहरु मरेपछि फेरी मैले गोरखाबाट कलमी बेर्ना ल्याएर लगाएँ त्यो पनि पाँच–छ वर्षमै बोटहरु मरे, २८७ वटा बोट जरैदेखि फालिदिएँ ।” सुन्तला कृषक सेनले जस्तै ठुलाडिहीका ३१ घर परिवार व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । प्रत्येक घरले एकदेखि १५ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गर्दै आइरहेका छन् । सुन्तलामा पटक–पटक असफल हुँदै गर्दा पनि हरेस नखाइ निरन्तर रूपमा अगाडि बढ्ेका सेनले कृषि प्राविधिकको सल्लाह बमोजिम बेर्ना तथा अन्य सरसल्लाह अनुसार पुनः सुन्तला खेती गरेका थिए ।

एमाले महाधिवेशन प्रतिनिधिलाई टोकन, ८ बजेसम्म ‘होल्डिङ सेन्टर’ नपुगे मतदान गर्न नपाउने

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी मतदानलाई व्यवस्थित बनाउन प्रतिनिधिहरूलाई टोकन प्रणाली लागू गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहान सवा ९ बजेदेखि सुरु भएको मतदानमा लामो समय लाइन बस्नुपर्ने अवस्था आएपछि पार्टीले टोकन वितरण गरेको हो ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार अपराह्न साढे ४ बजेसम्म करिब ७२० प्रतिनिधिले मतदान गरिसकेका छन् । महाधिवेशनमा कुल २ हजार २६२ प्रतिनिधि मतदाता रहेका छन् । मतदान प्रक्रियामा एक पटकमा ५० जनालाई मात्र प्रवेश गराइँदै आएको छ भने एक जना प्रतिनिधिले मत हाल्न करिब २५ देखि ४० मिनेटसम्म समय लाग्ने बताइएको छ । लामो समय उभिनुपर्ने असहजतालाई मध्यनजर गर्दै लाइनमा रहेका र बाहिर रहेका दुवै प्रकारका प्रतिनिधिलाई टोकन बाँडिएको हो । टोकनका आधारमा नै मतदानका लागि बोलाइने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच, एमाले केन्द्रीय निर्वाचन आयोगले टोकन लिएका प्रतिनिधिहरूले बेलुका ८ बजेसम्म अनिवार्य रूपमा होल्डिङ सेन्टरमा पुगिसक्नु पर्ने स्पष्ट पारेको छ । आयोगका सचिव कुन्साङ लामा अनुसार तोकिएको समयभित्र टोकन नलिने वा होल्डिङ सेन्टरमा प्रवेश नगर्ने प्रतिनिधिले मतदान गर्न नपाउने छन् । आयोगका उपाध्यक्ष सानुराज पोखरेलले पनि अपराह्न ४ बजेसम्म करिब ७ सय हाराहारी मत खसेको जानकारी दिँदै बाँकी मतदान प्रक्रिया तोकिएको समय सीमाभित्र सम्पन्न गरिने बताए ।

 

 

 

भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौँ । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ यही पुस ४ गते शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ ।

सो चलचित्रको विषयमा जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित कार्यक्रममा निर्देशक घिमिरेले भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको बताएका छन् ।

उनले भने, ‘चलचित्रकर्मीको दायित्व मनोरञ्जन दिने मात्र नभई समाजलाई जागरुक बनाउने पनि हो । सोही मूल्यमान्यतालाई आत्मसात् गरी भ्रष्टाचार र सामाजिक विकृतिका विरुद्ध आवाज उठाउँदै देश र जनताका पक्षमा चलचित्र निर्माण गरेको छु । देशभक्त सच्चा नागरिकले सोच्ने कोणबाट चलचित्र तयार गरिएको छ ।’

गत जेन्जी आन्दोलनअघि नै चलचित्रको छायाङ्कन सकिएको उल्लेख गर्दै निर्देशक घिमिरेले भ्रष्टाचार, बेथिति र विसङ्गति विरुद्धको आवाजलाई चलचित्रमार्फत् उजागर गर्न यथासक्य प्रयास गरिएको बताएका छन् । उनले चलचित्रले सामाजिक सन्देश प्रवाह गरेता पनि त्यसको शैली चलचित्रकै रहेको स्पष्ट पारेका छन् ।

निर्देशक घिमिरेले चलचित्रको नामले नै कथाको सङ्केत गरेको बताउँदै ‘झरीपछिको इन्द्रेणी’लाई अध्यारोपछिको उज्यालोको रूपमा बुझ्न आग्रह गरेका छन् ।

उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायतका कलाकारले अभिनय गरेका छन् ।

अभिनेता रमेश उप्रेतीले चलचित्रले अहिलेको समग्र देशको अवस्थालाई चित्रण गरेको बताएका छन् ।‘मैले धेरै समयपछि यो चलचित्रमा काम गरेँ, किनकी यसको विषयवस्तु ठूलो पर्दामार्फत दर्शकमाझ पुग्नुपर्छ भन्ने लाग्यो । आम नागरिकको कथामा बनेको चलचित्रलाई एउटा कलाकारले कलाको माध्यमले न्याय दिनुपर्छ भन्ने महसुस गरी काम गरेका छौँ’, उनले भने । यसै चलचित्रमार्फत नव कलाकारका रूपमा विमोचन दवाडी देखिँदै छन् । उमेरले जेनजी पुस्ताका कलाकार दवाडीले आफ्नो पुस्ताको भावना र आवाजलाई चलचित्रमा समेटिएको बताएका छन् ।

‘म आफैँले पनि चलचित्रको कथा र पात्रसँग ‘कनेक्ट’ भएको महसूस गरेँ । पहिलो चलचित्र पाउनुको खुसीसँगै मेरो पुस्ताको कथा पाउँदा म आफूलाई भाग्यमानी महसुस गर्छु । अहिले मसँगका धेरै साथी विदेशमा गएर अध्ययन गर्ने र भविष्य बनाउने सोचमा छन् । अहिले नेपालमै बस्नु भनेको रहर नभई बाध्यताका रूपमा पनि बुझ्ने गरिएको छ, त्यो प्रवृतिलाई चलचित्रमा समेटिएको छ र समाधान पनि दिइएको छ ।’, उनले भने।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको उक्त चलचित्रमा निर्देशक घिमिरेले कथा लेखन, गणेश कार्की तथा विशाल घिमिरेले पटकथा लेखन र बुद्ध थापाले छायाङ्कन गरेका छन् ।

एमाले महाधिवेशन : मतदानको समय थपियो, किन भइरहेको छ ढिलाइ ?

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान अपेक्षाभन्दा निकै सुस्त गतिमा अघि बढेपछि मतदानको समय थपिएको छ । सुरुमा साँझ ५ बजेसम्म तोकिएको मतदान समय संशोधन गर्दै राति ८ बजेसम्म पुर्‍याइएको हो ।निर्वाचन आयोगका अनुसार राति ८ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरिसकेका प्रतिनिधिले मत हाल्न पाउने व्यवस्था गरिएको छ ।

बुधबार बिहान सवा ९ बजेबाट सुरु भएको मतदान साँझ ४ बजेसम्म आइपुग्दा जम्मा एकतिहाइ प्रतिनिधिले मात्रै मत खसाल्न सकेका थिए । एमाले महाधिवेशनमा कुल २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अहिलेसम्म ७ सय २० मत खसेको छ । दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो । सात घण्टामा ७ सय २० मत खसेको हो । यही गतिमा मतदान अघि बढेमा रातभर मतदान चल्दा पनि टुंगिन कठिन हुने आयोगकै पदाधिकारीहरूले बताएका छन् ।

मतदान प्रक्रियामा प्रयोग गरिएको विद्युतीय प्रणालीका कारण एक जना प्रतिनिधिले औसत ३५ देखि ४० मिनेटसम्म समय खर्चिनुपरेको छ । ८० वटा विद्युतीय मेसिन प्रयोगमा रहे पनि मतदाताको लामो समय खर्चिनुपर्ने अवस्थाले समग्र प्रक्रिया सुस्त बनेको हो । मतदान व्यवस्थापनमा संलग्न रामलक्ष्मण इनोभेसन प्रालिका प्रतिनिधिहरूका अनुसार यही गतिमा मतदान सकिन झण्डै २२ घण्टा लाग्ने अनुमान गरिएको छ ।

ढिलाइ हुनुका मुख्य तीन कारण

मतदान किन यति ढिलो भयो भन्ने प्रश्नको जवाफमा निर्वाचन व्यवस्थापन पक्षले तीन प्रमुख कारण औंल्याएको छ ।
पहिलो–महाधिवेशनको अन्तिम समयमा विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढाइनु । एमालेले पदाधिकारी संख्या १५ बाट बढाएर १९ र केन्द्रीय समिति २५१ बाट ३०१ पुर्‍याएपछि भोटिङ मेसिनमा पुनः सेटिङ गर्नुपरेको थियो । उम्मेदवारको नाम र फोटो इन्ट्री गर्न समय लाग्दा मतदान प्रक्रिया स्वाभाविक रूपमा ढिलो भयो ।
दोस्रो–अध्यक्षका दुवै प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलका छुट्टाछुट्टै प्यानल अनुसार प्रतिनिधिहरूले नामसूची बोकेर मतदान गर्नुपर्ने अवस्था । कतिपय प्रतिनिधिले एउटै प्यानलमा सीमित नरही फरक–फरक प्यानलका उम्मेदवारलाई मत दिने भएकाले सूची मिलाउन र रूजु गर्न थप समय लागिरहेको छ ।

तेस्रो–यस पटक सबै पदमा अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था । अघिल्ला महाधिवेशनमा केही पद खाली छाडेर मतदान गर्न सकिने भए पनि अहिले तोकिएको संख्याभन्दा कम उम्मेदवारलाई मत दिए अर्को समूहमा प्रवेश नै गर्न नपाइने नियम छ । यसले पनि मतदातालाई लामो समय मेसिनअगाडि उभिन बाध्य बनाएको छ ।

यसपालि अपेक्षाकृत धेरै पदमा प्रतिष्पर्धा भएको छ । सुरुमा करिब ३० प्रतिशत पद सर्वसम्मत हुने अनुमान गरिएको भए पनि व्यवहारमा त्यो सम्भव भएन । कतिपय स्थानमा ५ पदका लागि ६ जनासम्म उम्मेदवार भएपछि मतदान प्रक्रिया थप जटिल बनेको छ। मतदान सकिएपछि मतगणनामा अझै ३–४ घण्टा लाग्ने अनुमान गरिएको छ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रत्यक्ष प्रतिष्पर्धा भइरहेको छ भने १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य तथा अनुशासन र लेखा आयोगका पदाधिकारी चयनका लागि मतदान भइरहेको छ । मंसिर २८ गते सुरु भएको एमाले महाधिवेशन नयाँ नेतृत्व चयनसँगै समापन हुने कार्यतालिका भए पनि मतदान प्रक्रियाको सुस्तताले समग्र महाधिवेशन नै ‘लामो दौड’ जस्तै बनेको छ ।

 

 

प्रधानमन्त्रीसँग चिनियाँ राजदूत सोङको भेटवार्ता

काठमाडौं । नेपालका लागि चीनका राजदूत चेन सोङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेट भएको हो ।

भेटका क्रममा दुवै पक्षले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन् । राजदूत चेन सोङले नेपालको विकास र समृद्धिमा चीनको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने बताए । यो भेटले दुई छिमेकी राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

जाँचबुझ आयोगको म्याद एक महिना थप्न सरकारलाई आग्रह

काठमाडौं । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ । बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेका हुन् ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरिएको हो । मन्त्रिपरिषद्को असोज ५ को निर्णय अनुसार गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि तीन सदस्यीय उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।

उक्त गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सुरक्षा निकायका प्रमुखसंग सोधपुछ गदै आएको छ । ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । सोहि अनुसार आयोगको म्याद यही पुस ९ गते सकिँदै छ । त्यसैले जाँचबुझ आयोगका अध्यक्ष कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिए । उनका अनुसार अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाइने तयारी गरिएको छ । गत मंसिर २५ गते जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएको थियो ।

एमाले महाधिवेशन : हालसम्म ६५० मत खस्यो, अब कति घण्टा लाग्ला ?

काठमाडौं । नेकपा नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा ६ घण्टामा ६५० मत खसेको छ । मतदानका लागि ८० वटा मेशिन राखिएको छ । उत्साह साथ प्रतिनिधि मतदानमा सहभागी भए पनि मतदान प्रक्रियाले लामो समय लिएको हो । एमाले महाधिवेशनमा जम्मा २ हजार २ सय ६३ प्रतिनिधि छन् । मतदान गरेर फर्किएकाहरुले आफूलाई मतदान गर्न ३० मिनेट जति समय लागेको बताएका छन् ।

‘मतदान उत्साहका साथ भइरहेको छ । ८० वटै मेसिनमा प्रतिनिधिले मतदान गरिरहनु भएको छ’, सचिव लामाले सुनाए, ‘मतदान सकिँदा रातिको १० बज्न सक्छ ।’ केन्द्रीय निर्वाचन आयोगका सचिव डा.कुन्साङ लामाका अनुसार दिउँसो ३ बजेसम्ममा ६ सय ५० मतदान भएको हो । बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो । चुनाबी प्रतिष्पर्धा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा दुई अलग–अलग प्यानल रहेका छन् ।

जेनजी आन्दोलन जाँचबुझ आयोग : दलका नेताहरुलाई बोलाउने तयारी

कामाठाडौं । भदौ २३–२४ को घटना छानबिन गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाउने तयारी भइरहेको बताएका छन् । बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारमा छलफल गरेपछि अध्यक्ष कार्कीले राजनीतिक दलका नेतालाई बोलाउने तयारी गरेको बताएका हुन् । आयोगले भदौ २३–२४ को घटनालाई लिएर प्रहरीका अधिकारीहरू, काठमाडौंका तत्कालीन सीडीओ, तत्कालीन गृहसचिव र प्रधानसेनापति अशोक सिग्देलसँग बयान लिइसकेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग आयोगले बयानको तयारी गरेको छ । एमाले अध्यक्ष समेत रहेका ओलीले आयोगको निष्पक्षतामा प्रश्न गर्दै बयानमा नजाने बताएका छन् । कार्कीले आयोगको म्याद १ महिना थप्नका लागि सरकारसँग आग्रह गरेका छन् । सरकारले ३ महिनाको समय दिएर असोज पहिलो साता कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

भारतमा मेस्सीले गरे आरती र पूजा, जिते ‘प्रशंसक’ को मन

काठमाडौं । विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सीको हालै सम्पन्न भारत भ्रमण केवल खेलकुद कार्यक्रममै सीमित रहेन । ‘द गोट टुर इण्डिया २०२५’ अन्तर्गत तीन दिन चार सहरको यात्रा गरेका मेस्सीले भारतीय संस्कृति, परम्परा र वन्यजन्तु संरक्षणप्रतिको सम्मानमार्फत लाखौं प्रशंसकको मन जितेका छन् । १३ डिसेम्बरमा भारत पुगेका अर्जेन्टिनी सुपरस्टार सोमबार स्वदेश फर्किए । यस अवधिमा उनले कोलकाता, हैदराबाद, मुम्बई र दिल्लीको भ्रमण गरे । जहाँ–जहाँ मेस्सी पुगे, त्यहाँ उत्साहको सागर देखियो । विमानस्थलदेखि कार्यक्रमस्थलसम्म फ्यानहरूको भीड, पोस्टर, नाराबाजी र स्वागत समारोहले भारतमा उनको लोकप्रियता झल्कायो ।

मेस्सीको दोस्रो भारत भ्रमणका क्रममा कोलकाता विशेष केन्द्रमा रह्यो । सन् २०११ मा पहिलो पटक भारत आउँदा कोलकातामै भेनेजुएलाविरुद्ध मैत्रीपूर्ण खेल खेलेका मेस्सीलाई यस पटक प्रत्यक्ष देख्न नपाएको भन्दै केही प्रशंसकले साल्ट लेक स्टेडियम आसपास तोडफोड गरे । घटनापछि पश्चिम बंगालको राजनीति समेत तरंगित बनेको छ । मेस्सी स्वयं भने सो घटनामा संलग्न नभई आफ्नो कार्यक्रम सकेर फर्किएका छन् । मेस्सीको भारत भ्रमणको सबैभन्दा भावुक र चर्चित क्षण भने गुजरातको जामनगरस्थित वनतारा संरक्षण केन्द्रमा देखियो । विश्वकै ठूलो वन्यजन्तु उद्धार, पुनर्वास र संरक्षण केन्द्रका रूपमा परिचित वनतारामा उनले परम्परागत स्वागत पाए । लोक संगीत, फूलको वर्षा र धार्मिक अनुष्ठानबीच मेस्सीले सनातन परम्पराप्रति सम्मान प्रकट गरे ।

उद्योगपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको निमन्त्रणामा जामनगर पुगेका मेस्सी आफ्ना साथी खेलाडी लुइस सुआरेज र रोद्रिगो डे पलसँगै थिए । करिब ३ हजार एकडमा फैलिएको वनतारामा सिंह, बाघ, हात्ती, चितुवा लगायतका जनावरहरूको संरक्षण गरिन्छ । सार्वजनिक भएका तस्बिर र भिडियोमा मेस्सीले पूजा थाली समातेर आरती गरिरहेको, टीका लगाइरहेको र शान्त भावमा प्रार्थना गरिरहेको देखिन्छ । उनले अम्बे माता पूजा, गणेश पूजा, हनुमान पूजा र शिव अभिषेकमा सहभागिता जनाए । विशेषगरी हनुमानजीको मूर्तिअगाडि श्रद्धापूर्वक आशीर्वाद लिएको दृश्य सामाजिक सञ्जालमा निकै चर्चित बन्यो । फ्यानहरूले मेस्सीलाई केवल महान् खेलाडी मात्र नभई संस्कृति र मानवताप्रति सम्मान देखाउने व्यक्तित्वका रूपमा प्रशंसा गरिरहेका छन् । ‘धर्म फरक भए पनि परम्पराको आदर गर्नु नै ठूलो मानवीय गुण हो’ भन्ने सन्देश मेस्सीको व्यवहारले दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा व्यापक देखिन्छ।

मेस्सीले धार्मिक कार्यक्रममा मात्र होइन, वनताराको संरक्षण अभियानको खुलेर प्रशंसा गरे । उनले जनावरहरूको केयर सेन्टर अवलोकन गरे, सिंह–बाघसँग नजिकबाट भेटे र कर्मचारीहरूसँग संवाद गरे । उनले स्पेनिस भाषामा भनेका छन्, ‘वनताराले जनावरहरूको लागि गरिरहेको काम साँच्चै सुन्दर छ । उनीहरूलाई बचाउने र हेरचाह गर्ने तरिका अत्यन्त प्रभावशाली छ । हामीले यहाँ अद्भुत समय बितायौँ ।’ चार सहरको भ्रमणमा लाखौँ भारतीय फ्यानले मेस्सीलाई स्वागत गरे । भीड, उत्साह र भावनात्मक क्षणबीच मेस्सीको यो यात्रा खेलकुदभन्दा पर गएर सांस्कृतिक कूटनीतिक उदाहरण बनेको छ । मैदानमा गोल गरेर इतिहास रच्ने ‘द गोट’ ले भारतमा भने नम्रता, सम्मान र मानवताको सन्देश छोडेर विदा लिएका छन् ।

 

प्यालेस्टाइन सहित ट्रम्पले लगाए सात देशलाई यात्रामा प्रतिबन्ध

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ । यसका साथै पश्चिमी देशहरूबाट हुने नियमित यात्रामा समेत नियमहरू थप कडा पारिएका छन् ।

आप्रवासनप्रति कठोर दृष्टिकोणलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउँदै आएका राष्ट्रपति ट्रम्पले सामूहिक निर्वासनको आदेश जारी गरिसका छन् भने गैर–श्वेत आप्रवासीहरूविरुद्धको कडा अभिव्यक्ति पनि तीव्र बन्दै गएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा ‘अमेरिकीहरूलाई धम्की दिन सक्ने’ विदेशी नागरिकहरूलाई रोक्न प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । साथै, अमेरिकाको संस्कृति, सरकार, संस्था तथा संस्थापक सिद्धान्तहरूलाई कमजोर पार्न खोज्ने व्यक्तिहरूलाई देशभित्र प्रवेश नदिन चाहिएको भनिएको छ ।

लामो समयसम्म शासक बशर अल–असदको पतनपछि अन्तर्राष्ट्रिय समुदायमा पुनःस्थापना हुने प्रयासमा रहेको सिरियामाथि यो प्रतिबन्ध त्यतिबेला लगाइएको छ जतिबेला केही दिन अघि त्यहाँ दुई अमेरिकी सैनिक र एक सर्वसाधारण मारिएका थिए । सिरियाली अधिकारीहरूका अनुसार ती घटनाका आरोपी सुरक्षा बलका पूर्वसदस्य थिए, जसलाई ‘चरमपन्थी इस्लामवादी विचार’ का कारण बर्खास्त गरिएको थियो ।

यसैबीच, फ्रान्स र बेलायतलगायत केही पश्चिमी देशहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको विरोधमा ट्रम्प प्रशासनले इजरायलसँग ऐक्यबद्ध हुँदै प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूमा अनौपचारिक यात्रा प्रतिबन्ध लागू गरिसकेको थियो, जसलाई अहिले औपचारिक बनाइएको छ ।

पूर्ण यात्रा प्रतिबन्धमा परेका नयाँ देशहरूमा अफ्रिकाका बुर्किना फासो, माली, नाइजर, सिएरा लियोन र दक्षिण सुडान, साथै दक्षिणपूर्वी एसियाको लाओस रहेका छन् । यसबाहेक, नाइजेरिया, आइभोरी कोस्ट र सेनेगललगायत केही अफ्रिकी देशका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ । यी देशहरू अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुने आगामी विश्वकप फुटबलका लागि योग्य भए पनि ट्रम्प प्रशासनले खेलाडीहरूलाई मात्र प्रवेश अनुमति दिने स्पष्ट पारेको छ, प्रशंसकहरूका हकमा कुनै प्रतिबद्धता जनाएको छैन ।

आंशिक प्रतिबन्धमा परेका अन्य देशहरूमा एङ्गोला, एन्टिगुआ र बार्बुडा, बेनिन, डोमिनिका, ग्याबोन, गाम्बिया, मलावी, मौरितानिया, तान्जानिया, जाम्बिया, जिम्बाब्वे तथा पोलिनेसियाली देश टोङ्गा रहेका छन् । यीमध्ये केही देश अमेरिकाका महत्त्वपूर्ण साझेदारसमेत रहेका छन्, जसलाई पूर्वराष्ट्रपति जो बाइडेनले लोकतन्त्रप्रतिको प्रतिबद्धताका लागि प्रशंसा गरेका थिए ।

शरणार्थी अधिकारका पक्षमा काम गर्ने इसाई संस्था ग्लोबल रिफ्युजले यात्रा प्रतिबन्धले कमजोर र जोखिममा परेका मानिसहरूलाई झनै अप्ठ्यारो अवस्थामा धकेल्ने चेतावनी दिएको छ । संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत कृष ओ’मारा विग्नाराजाहले व्यक्तिगत र प्रमाणमा आधारित मूल्याङ्कनको सट्टा सम्पूर्ण जनसङ्ख्यालाई सजाय दिने नीति अपनाइएको आरोप लगाएका छन् ।

राष्ट्रपति ट्रम्पले पछिल्ला सार्वजनिक कार्यक्रममा आप्रवासीहरूलाई लक्षित गर्दै विवादास्पद भाषा प्रयोग गर्दै आएका छन् । यसअघि नै सोमाली नागरिकहरूको प्रवेशमा प्रतिबन्ध लगाइ सकिएको छ भने अफगानिस्तान, इरान, लिबिया, सुडान, यमनलगायत देशहरू पनि पूर्ण यात्रा प्रतिबन्धमा रहेका छन् ।

यसै क्रममा ह्वाइट हाउसले तुर्कमेनिस्तानले गरेको ‘महत्त्वपूर्ण प्रगति’ लाई स्वीकार गर्दै त्यस देशका नागरिकलाई गैर–आप्रवासी भिसामा अमेरिका प्रवेशको अनुमति पुनः दिन थालिएको जनाएको छ । तर समग्रमा हेर्दा, राष्ट्रपति ट्रम्पको पछिल्लो निर्णयले अमेरिकी आप्रवासन नीतिलाई अझै कठोर बनाएको स्पष्ट देखिएको छ ।

ओझेलमा सुन्दर तावभञ्ज्याङ, पुगेन प्रचार-प्रसार

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहे पनि व्यवस्थित प्रवर्द्धन नहुँदा यो क्षेत्रले अपेक्षित रूपमा पर्यटक तान्न नसकेको हो ।

नयाँ वर्ष, चाडपर्व तथा विभिन्न अवसरमा वनभोज (पिकनिक) खान आउने आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको तावा भञ्ज्याङ पछिल्लो समय बिस्तारै चिनिन थालेको छ । तर, दीर्घकालीन योजना, पूर्वाधार विकास र प्रचार रणनीति नहुँदा यसको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन ।

मनोरम दृश्यले भरिपुर्ण रहेको यो क्षेत्र भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लखर्क र खोटाङको साकेला गाउँपालिका–३ लाई जोड्ने महत्वपूर्णस्थल हो । हरियाली वन, खुला फाँट, स्वच्छ हावापानी र टेम्के–सेल्मेको काखमा अवस्थित यस भञ्ज्याङले जो–कोही पर्यटकलाई आकर्षित गर्ने स्थानीय बताउँछन् ।

दुई जिल्लाको सिमानामा पर्ने यस क्षेत्रमा साकेला गाउँपालिकाले पछिल्लो समय विभिन्न भौतिक संरचना निर्माण गर्नुका साथै चियाखेतीको विस्तार सुरु गरेको छ । चिया बगान, खुला पार्क र प्राकृतिक दृश्यले तावा भञ्ज्याङको सौन्दर्य अझ बढाएको स्थानीयको भनाइ छ ।

तावा भञ्ज्याङ नेपाल सरकारको ‘घुम्नै पर्ने सय गन्तव्य’ सूचीमा समावेश मुन्दुम पदमार्गको सुरु विन्दुसमेत भएकाले यसको ऐतिहासिक र सांस्कृतिक महत्व पनि उत्तिकै छ । यति महत्वपूर्ण पहिचान हुँदाहुँदै पनि प्रचार–प्रसारको कमीका कारण अपेक्षित सङ्ख्यामा पर्यटक भित्रिन नसकेको सरोकारवालाको गुनासो छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले तावा भञ्ज्याङ टेम्के–सेल्मेको काखमा अवस्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यसको प्रवर्द्धनमा जोड दिन आवश्यक रहेको बताएका छन् । ‘यो क्षेत्रमा भरपूर पर्यटकीय सम्भावना रहेको देखिन्छ’, उनले भने, “केही संरचना निर्माणसँगै चियाखेती बिस्तार भइरहेको छ, स्थानीय तह, निजी क्षेत्र र सरोकारवाला निकाय मिलेर काम गर्नसके यो क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।’

स्थानीयका अनुसार दावाभञ्ज्याङ र पाँचधारे क्षेत्र भोजपुर र खोटाङबीच लेकबेँसी कृषिउपजको विनिमय हुने प्रमुख केन्द्रका रूपमा परिचित छ । यहाँ महिनामा दुई पटक पाँचधारे बजार लाग्ने गर्दछ । फराकिला डाँडाकाँडा, रमणीय भू–दृश्य र प्रशस्त पर्यटकीय सम्भावना भएकाले पाँचधारे तथा तावा भञ्ज्याङलाई जोडेर दुई जिल्लाकै साझा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ ।

प्राकृतिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण तावा भञ्ज्याङ र पाँचधारे क्षेत्रको व्यवस्थित विकास र प्रभावकारी प्रचार–प्रसार गर्नसके भोजपुर तथा खोटाङ दुवै जिल्लाको पर्यटन विकासमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ ।

मधेसका मुख्यमन्त्री यादवले पुस ४ मा विश्वासको मत लिने

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । उनले आगामी शुक्रबार (पुस ४) अपराह्न ४ बजे विश्वासको मत लिने तयारी गरेका हुन् । यसका लागि मुख्यमन्त्री यादवले प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै आवश्यक व्यवस्था मिलाई दिन आग्रह गरेका छन् । सचिवालयलाई पठाइएको पत्रमा उनले तोकिएको मिति र समयमा प्रदेश सभाको बैठक बोलाई विश्वासको मतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् । मुख्यमन्त्री यादवले सरकार गठनपछिको राजनीतिक अवस्था र समर्थनको अवस्थालाई मध्यनजर गर्दै विश्वासको मत लिन लागेका हुन् ।

‘कार्बन व्यापारलाई दीर्घकालीन सहायक लाभको रुपमा लिनुपर्छ’

काठमाडौं । कार्बन व्यापारलाई मुख्य आम्दानीको स्रोत नभई दीर्घकालीन सहायक आम्दानीको स्रोतको रुपमा लिनुपर्ने विज्ञहरुले बताएका छन् । प्राक्टिकल एक्शन र एसपिआई नेपालद्वारा आयोजित कार्बन व्यापार नियमन, २०८२ सम्बन्धी कार्यक्रममा सहभागी विज्ञहरुले कार्बन व्यापारलाई मुख्य आन्दानीको स्रोतको रुपमा लिए सफल हुन नसकिने बताएका हुन् ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र (एईपिसी) का कार्यकारी निर्देशक नवराज ढकालले कार्बन व्यापारलाई दीर्घकालिन सहायक आम्दानीको स्रोतमा लिनुपर्ने बताए । उनले कार्बन व्यापारलाई मुख्य आम्दानीको स्रोत मान्न नहुने बताए । चाँडो पैसा कमाउने माध्यमका रूपमा नभई दीर्घकालीन लो–कार्बन आर्थिक विकास रणनीतिसँग जोडेर यसलाई अघि बढाउनुपर्ने उनको भनाई छ । उनकाअनुसार कार्बन व्यापारबाट प्राप्त हुने लाभ को–बेनिफिट मात्र हो । उत्सर्जन न्युनिकरणलाई वैज्ञानिक रूपमा मापन गरी परियोजना विकासमार्फत कार्बन लाभ लिन सकिने उनले बताए । कार्बन व्यापारबाट थोरै भए पनि राजश्व सिर्जना गरी थप हरित गतिविधि विस्तार, रोजगारी सिर्जना र बहुआयामिक योगदान गर्नेगरी लाग्नुपर्नेमा उनले जोड दिए ।

उनकाअनुसार नेपालले सन् २०४५ मा शुन्य कार्बन उत्सर्जनको लक्ष्य लिएको छ । त्यसअनुसारका नीतिगत तथा कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिए । ढकालले नेपालले तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडिसी–३) लाई उत्सर्जन न्युनिकरणको मुख्य उपकरणका रूपमा अघि बढाइरहेको पनि जानकारी दिए । उनले भने, ‘हामी कार्बनबाट पैसा ल्याएर सबै कुरा कायापलट गर्ने भन्ने सोचबाट हामी काम गर्ने होइन । राज्यले लिएको जुन लो कार्वन ईकोनिमिक डेभलपमेण्टको प्रायोरिटी छ, त्यो भनेको लङटर्म ईकोनोमी डेभलपमेण्ट स्ट्याटिजीकै कुरा होला । २०४५ नजिक शून्य हुने भनेका छौँ । त्यस अन्तर्गत रहेर जुन हाम्रो मिटिगेसनको मेन ईन्सुमेन्ट बनेको छ, एनडिसी ३ । एनडिसी ३ ले आईडेन्टीफाई गरेको एरियामा विभिन्न मिटिगेसनको प्रोग्रामहरु गर्ने, त्यसले हाम्रो लो कार्बन ईकोनोमी डेभलपमेण्ट नै कन्ट्रिव्युट गर्छ । हामी क्लाईमेट रिजिलेन्ट बन्दै जाने हो ।’

उनले भने, ‘त्यसरी गरिरहँदा खेरी यो एउटा चाहीँ को–बेनिफिट मात्रै हो । कार्बन बेनिफिट भनेको को–बेनिफिट हो । हामी सबैले त्यसरी बुझेर यसलाई अगाडि भने गर्न सकिन्छ । कार्वनबाट सबै गर्छौं भन्दा पनि हामी लो कार्बन विकासमा गईरहँदाखेरी अवथा क्लिन डेभलपमेन्टमा गईरहँदाखेरी हामीले अब अपनाउने आधुनिक प्रविधिहरु स्वच्छ खालको भइरहँदा एलओजी ट्रान्जिसनदेखि हरेक क्षेत्रमा हामी जाँदा त्यसबाट हामीले जुन ईमिसन रिडक्सन अचिव गरेका छौँ, त्यसलाई क्वान्टीफाई गरेर एउटा सिष्टोमेटिक हिसावले अगाडि बढाएर प्राजेक्ट विकास गरेर अनि त्यसबाट हामीले कार्बन वेनिफिट चाहीँ लिने । अलिकति भएपनि रेभिन्यु जेनेरेट गर्ने जसले त्यस्तै खालको थप क्रियाकलाप गर्न सकियोस् । त्यसले रोजगारी सिर्जना गरोस्, अरु विभिन्न हिसावले योगदान गर्न सकोस्, त्यो अवधारणाले हामी अगाडि बढेमा कोही पनि मिस गाईडेड हुनु पर्दैन ।’

कार्यकारी निर्देशक ढकालले कार्बन व्यापार नियमावली, २०८२ का नियमावलीलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । एसपिआई नेपालका अध्यक्ष मोहनदास मानन्धरले कार्बन व्यापार नियमावलीमा धेरै संशोधन गर्नुपर्ने विषयहरु रहेको बताए । तर पनि यसलाई कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । उनले नियमावली कार्यन्वयन गर्नको लागि आवश्यक सहयोग गर्ने बताए । प्राक्टिकल एक्शनका कन्ट्रि डाइरेक्टर पूजा शर्माले कार्बन व्यापार नियमन, २०८२ नियमावली कार्यान्वयनले कार्बन उत्सर्जन कटौती गर्न सहयोग गर्ने बताइन् ।

उनले कार्बनसम्बन्धी नीतिनियम बनाएर कार्यन्वयन गर्न नसकेमा अन्तर्राष्ट्रिय कार्बन खरिदकर्ताहरुसँग संयोजन गर्न चुक्नुपर्ने अवस्था आउने बताइन् । नेपालले कार्बन उत्सर्जन कटौती गर्नसक्ने र कार्बन कटौती गरे बापत धनी मुलुकहरुले प्रोत्साहन स्वरुप नेपालको कार्बन खरिद गर्दा नेपाललाई आर्थिक लाभ हुने उनको भनाई छ । कार्यक्रममा सहभागी विज्ञहरूले कार्बन व्यापार नियमन, २०८२ कार्यान्वयनले निजी क्षेत्र, स्थानीय तह र समुदायस्तरका हरित परियोजनालाई संस्थागत रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् । निजी क्षेत्रले गरेको कार्बन उत्सर्जन न्युनिकरणलाई कार्बन व्यापारमा समेट्ने गरी सरकारले हालै कार्बन व्यापार नियमावली, २०८२ नेपाल राजपत्रमा प्रकाशित गरि नियमावली कार्यान्वयनमा ल्याएको छ । गत मंसिर १५ गतेको मन्त्रिपरिषद्को बैठकले कार्बन व्यापारसम्बन्धी नियमावली अनुमोदन गरेको थियो । नियमावलीले विगतमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका परियोजना मात्र कार्बन व्यापारका लागि सूचीकृत हुने गरेकामा अब सबै क्षेत्रलाई कार्बन व्यापारमा सूचीकृत गर्नसक्ने व्यवस्था गरेको छ ।

धनुषाको दुई विद्यालयमा भवन निर्माणका लागी जापान सरकारको सहयोग

महेन्द्रनगर(धनुषा) । जापान सरकारको आर्थिक सहयोगमा धनुषामा दुई वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधात्मक एवं सुविधासम्पन्न भवन निर्माण भएकोे छ । प्लान इन्टनेसनल नेपाल तथा आसमान नेपालको सहकार्यमा सञ्चालित शिक्षा परियोजनाअन्तर्गत सो विद्यालयको भवन निर्माण गरिएको हो ।

विदेह नगरपालिका–५ स्थित आधारभूत विद्यालय मुडिवामा रु ९४ लाख तथा जनकनन्दिनी गाउँपालिका–१ स्थित शङ्कर माध्यमिक विद्यालयमा रु एक करोड २५ लाखको लागतमा विद्यालय भवन निर्माण गरिएको परियोजना कार्यालयले जनाएको छ ।

दुवै विद्यालयका भवन अपाङ्गमैत्री दुई तल्लाको चार÷चार वटा कोठासहित पाँच÷पाँच वटा शौचालय तथा स्वच्छ खानेपानी ट्याङ्की र धारासहित निर्माण गरिएको प्लान नेपालका पूर्वाञ्चल क्षेत्रीय प्रमुख रविशङ्कर पण्डितले जानकारी दिएका छन् । ती विद्यालयका भवन जीर्ण हुनुका साथै बालबालिकाको पठनपाठनमा समस्या भएकाले सुविधासम्पन्न भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको उनले जानकारी दिएका छन् ।

नवनिर्मित विद्यालय भवनको जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको नेतृत्व, उपप्रमुख सङ्गीता ठाकुरको सहभागिता सहित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिको टोलीले निरीक्षण गरेको छ । निरीक्षणपश्चात् प्लान इन्टरनेसनलको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बसेको थियो ।

बैठकमा प्लानका पूर्वाञ्चल क्षेत्रीय प्रमुख पण्डित र आसमान नेपालका सञ्जय पासवानले यी दुई संस्थाले बालबालिका तथा लैङ्गिक समानता र भौतिक पूर्वाधारसम्बन्धी गरेको कार्य तथा प्रगति, त्यसको उपलब्धिबारे जानकारी दिएका थिए ।

बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले नेपाल सरकारको उद्देश्य तथा लक्ष्यलाई पूरा गर्न गैरसरकारी संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेर सहयोग गरिरहेका उल्लेख गर्दै यस्ता गैरसरकारी संस्थाहरूले थप प्रभावकारी कार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख मण्डलले गैरसरकारी संस्थाहरूले पालिकासँगको समन्वयमा शिक्षा, स्वास्थ्य, सरसफाइ तथा चेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने विचार व्यक्त गरेका छन् । प्लान इन्टरनेसनल नेपालले सन् १९७८ देखि नेपालमा सामाजिक तथा सचेतनाका क्षेत्रमा काम गर्दै आएको छ । हाल आफ्ना साझेदार संस्थामार्फत मधेस प्रदेशको चार जिल्लासहित १३ जिल्लामा कार्य गर्दै आएको छ ।

सो संस्थाले धनुषाको विदेह नगरपालिका, जनकनन्दिनी गाउँपालिका, सहिद नगरपालिका, कमला नगरपालिका र सवैला नगरपालिकामा लैङ्गिक समानता तथा भौतिक पूर्वाधार निर्माणसम्बन्धी विभिन्न कार्य गर्दै आएको छ । हाल नेपालमा सो संस्थाको लैङ्गिक समानतातर्फ प्रत्यक्ष रूपमा सात लाख र अप्रत्यक्ष रूपमा १५ लाख बालबालिका र किशोरकिशोरी एवं महिलालाई लाभान्वित गर्नेगरी योजनाबद्ध काम गरिरहेको क्षेत्रीय प्रमुख पण्डितले जानकारी दिएका छन् ।

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।

नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए । त्यस्तै चन्दन रामले २७ रनको योगदान दिए भने अभिषेक तिवारीले २० रन जोडे । अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई-दुई विकेट हात पारे ।

एमाले महाधिवेशन : पाँच घण्टामा कति खस्यो मत ?

काठमाडौं । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा पाँच घण्टादेखि मतदान जारी छ । आज बिहान सवा ९ बजेदेखि मतदान सुरू भएको थियो । दिउँसो सवा २ बजेसम्म ५३२ जनाले मतदान गरेको पार्टी निर्वाचन आयोगले जानकारी दिएको छ । एमाले महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन् । एमालेले आज राति १० बजेभित्रै मतदान सक्ने र लगत्तै गणना गर्ने जनाएको छ ।

अध्यक्षसहित १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य (केही निर्विरोध भइसकेको) र ३ वटा आयोगका पदाधिकारीका लागि मतदान भइरहेको छ । मतदान भृकुटीमण्डपमै भइरहेको छ । एक जनाले मत हाल्न करिब २५ देखि ४० मिनेटसम्म लाग्ने गरेको छ । विद्युतीय मेसिनमा मतदान भइरहेको हो ।

इरानलाई उत्तरी यूरोपसँग जोड्न रुसले सहयोग गर्ने

तेहरान ।  रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको इरानको सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ ।

इरानको राजधानी तेहरानमा भएको बैठकमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र रूसी यातायात उपप्रधानमन्त्री भिटाली साभलेभले अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात कोरिडोर (आईएनएसटीसी) परियोजना सम्पन्न गर्ने विषयमा विचार आदान-प्रदान गरेको जनाइएको छ ।

लारिजानीले परियोजना कार्यान्वयन गर्न इरानको तयारीलाई प्रकाश पार्दै आफ्नो देशले निकट भविष्यमा विद्यमान कार्यकारी र संस्थागत अवरोधहरू हटाउने र परियोजनाको कार्यान्वयनलाई कानुनी र प्रशासनिक रूपमा सुदृढ पार्न आवश्यक सम्झौताहरू लागु गर्ने बताएका छन् ।

साभलेभले आफ्नो तर्फबाट इरानको निर्णायक दृष्टिकोणलाई स्वागत गर्दै यस परियोजनालाई यसको परिचालन चरणमा अगाडि बढाउन मस्कोको तयारी रहेको बताएका छन् ।

दुवै पक्षले दिगो द्विपक्षीय सहयोगलाई सुदृढ गर्न र स्वतन्त्र क्षेत्रीय सम्पर्क मार्गहरू निर्माण गर्न आईएनएसटीसी आफ्नो देशको संयुक्त रणनीतिको हिस्सा भएको कुरामा जोड दिएको जनाइएको छ ।

सन् २०२३ जुलाइमा, इरान रूसले आईएनएसटीसीको रूपमा इरान भित्र रेलवे निर्माणका लागि कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरेका थिए । जसले १६२ किलोमिटर लामो रेलवेले पूरा भएपछि उत्तरी इरानी सहरहरू राश्त र अस्तारालाई जोड्ने छ ।

संसद विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासले बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको रिट निवेदक श्याम घिमिरेले जानकारी दिए । इसलासमा प्रधानन्यायाधीशका अलावा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए ।

प्रतिनिधिसिभा विघटनअघि कांग्रेसको प्रमुख सचेतक रहेका श्याम घिमिरेसहित आठ पूर्व सांसदले दायर गरेको रिट ‘ज’ नम्बरमा पेशी चढेको थियो । सो रिटमा प्ररम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । प्रतिनिधि सभा विघटन निर्णय बदर गर्न माग गर्दै कांग्रेसले मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेको थियो । नेकपा एमाले र अन्य कानून व्यवसायीले दायर गरेका रिट सर्वोच्चमा विचाराधीन छन् । भदौ २३–२४ को जेनजी आन्दोलनको बलमा बनेको सरकारले भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेको थियो ।

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

नोम पेन(कम्बोडिया) ।  कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या १७ पुगेको उल्लेख गर्दै थाई सैन्य बलले कम्बोडिया क्षेत्रमा हवाई आक्रमण र गोलाबारी जारी राखेको बुधबार बताएको छ ।

कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बुधबार देखि थाई सेनाले कम्बोडियाको ओड्डर मिन्चे, बान्टे मिन्चे र पर्सात प्रान्तका विभिन्न स्थानमा आक्रमण गर्न ट्याङ्क–माउन्टेड मेसिन गन, ड्रोन, आर्टिलरी र एफ–१६ लडाकू जेट प्रयोग गरेको बताएका छन् ।
सोचेटाले द्वन्द्वका कारण कम्बोडियाका नागरिकहरु आक्रमणको सिकार भएको उल्लेख गर्दै घाइतेहरूको सङ्ख्या ७७ पुगेको जनाएका छन् ।

आधिकारिक तथ्याङ्कका अनुसार द्वन्द्वले एक लाख ३० हजार भन्दा बढी कम्बोडियन परिवारका करिब चार लाख ३८ हजार व्यक्तिहरूलाई सुरक्षित आश्रयका लागि आफ्नो घर छोड्न बाध्य पारेको जनाइएको छ ।

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर– ७ देखि पुनः सुरु भएको छ, भने दुवै पक्षले एक अर्कालाई आक्रमण सुरु गरेको आरोप लगाएका छन् ।

 

वैदेशिक लगानी : पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ३८ अर्ब ५९ करोडको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि मंसिरसम्म स्वीकृत भएका परियोजनामार्फत ३८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी लगानी प्रतिवद्धता आएको हो ।

समीक्षा अवधिमा कुल ४ सय ३८ वटा विदेशी लगानीसम्बन्धी परियोजना स्वीकृत भएका छन् । परियोजनाको संख्याका आधारमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्र शीर्ष स्थानमा देखिएको छ ।

कुल स्वीकृत परियोजनामध्ये २ सय ३६ वटा आईसीटीसँग सम्बन्धित छन्, जसले आधाभन्दा बढी हिस्सा ओगटेको छ । आइसीटी क्षेत्रको विकाससँगै यसले अगामी दिनमा मुलुकको अर्थतन्त्रमा आफ्नो योगदानलाई बढाउने देखिएको छ । यद्यपी लगानी रकमका हिसाबले भने कृषि तथा वनजन्य उद्योग क्षेत्र सबैभन्दा बढि लगानी प्रतिवद्धता आएको छ । यस क्षेत्रमा मात्रै करिब २२ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, पर्यटन क्षेत्रले उल्लेख्य स्थान ओगटेको छ, सो क्षेत्रका १ सय ३५ वटा परियोजनामार्फत १० अर्ब रुपैयाँभन्दा बढी लगानी प्रस्ताव आएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ ।

क्षेत्रगत रूपमा हेर्दा पाँच महिनामा कुल लगानी प्रतिबद्धतामध्ये सूचना तथा प्रविधि क्षेत्रमा ५४ प्रतिशत, पर्यटन क्षेत्रमा ३१ प्रतिशत, सेवा क्षेत्रमा ६ प्रतिशत, उत्पादन क्षेत्रमा ६ प्रतिशत र कृषि क्षेत्रमा ३ प्रतिशत रहेको छ । परियोजनाको संख्या धेरै भएपनि आईसीटी क्षेत्रमा आएको लगानी रकम भने करिब १ अर्ब रुपैयाँमै सीमित छ । परियोजनाको आकारका आधारमा हेर्दा स्वीकृत ४३८ उद्योगमध्ये ४२३ वटा साना, ८ वटा मझौला र केवल ७ वटा ठूला उद्योगमा लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागकाअनुसार मंसिर महिनामा मात्रै ५६ वटा उद्योगमा करिव १ अर्ब ९१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । तीमध्ये अधिकांश साना उद्योग रहेका छन् । यसै अवधिमा विदेशी लगानीकर्ताले रोयल्टीबापत १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता लैजान विभागबाट स्वीकृति पाएका छन् ।

 

 

मादीमा बन्दैछ आकर्षक आर्क ‘ब्रिज’, समयमै सक्न कस्सियो आयोजना

तनहुँ ।  मुग्लिन–पोखरा खण्ड अन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । दैनिक एक सय ३० कामदार खटाएर उक्त पुल तीव्र गतिमा निर्माण गरिँदै छ ।

पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनमा निर्माण गर्न लागिएको हो । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन चार लेनको पुलमा दैनिक एक सय ३० जना कामदार परिचालन गरिएको आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार यातायात आवागमनका लागि मात्रै नभई पर्यटकलाई पनि आकर्षित गर्ने उद्देश्यले कलात्मक डिजाइनको पुल निर्माण भइरहेको छ ।

तीन सय १५ मिटर लामो यस पुलको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ । “सम्झौताअनुसार काम नसकिएपछि ११ महिना म्याद थप गरिएको हो”, इञ्जिनियर पाण्डेले भनेका छन्, “पछिल्लोपटक थप गरिएको म्यादभित्र पुल सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको छ । ”

अहिले पुलको ढलान गर्नुपूर्वको फर्मा लगाउने, डण्डी तान्ने, टेका लगाउनेलगायत काम भइरहेको छ ।” उनका अनुसार चार लेनको एउटै बेस निर्माण गरिएको उक्त पुल पृथ्वी राजमार्गकै पहिलो र लामो छ ।

गत साउन २६ गते म्याद सकिएपछि आगामी असार १९ गतेसम्मलाई समय थपिएको इञ्जिनियर पाण्डेले जानकारी दिए । उनले भने, “जेठ, असार, साउन र भदौ गरी चार महिना वर्षायाम भएकाले निर्माण रोकिएकामा दसैँ लगत्तैदेखि पुनः निर्माणले गति लिइरहेको छ ।” उनका अनुसार पुलमा छ वटा स्पान हुनेछन् ।

पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले विसं २०७९ साउन २६ गते रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताएका छन् ।

मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । आँबुखैरेनी–जामुनेसम्मको ४१ दशमलव ४५ किमी कालोपत्र सकिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

एमालेको समर्थनमा खुलेकी ज्योतिको ओलीसँग ‘फोटोसुट’

काठमाडौं । गायिका ज्योति मगर हाल नेपाली राजनीतिको चर्चित अनुहार बनिरहेकी छिन् । उनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत सुझबुझपूर्ण राजनीतिक स्टाटस लेखेर आफ्ना विचार सार्वजनिक गर्दै आएका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सक्रिय राजनीतिक आवाज दिने उनले नेकपा एमालेको ११औं महाधिवेशनमा पनि आफ्नो उपस्थिति देखाएकी छन् ।

मंगलबारदेखि नै भृकुटीमण्डपमा विभिन्न उम्मेदवारका पक्षमा प्रचारमा जुटेकी ज्योति मगरले बुधबार अध्यक्षका उम्मेदवार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भलाकुसारी गर्दै फोटोसुट गरेकी छन्। तस्बिरमा उनीहरु दुवै मुस्कुराउँदै देखिएका छन् । ज्योतिले आफू कुनै पार्टीको स्थायी कार्यकर्ता नभएको स्पष्ट गर्दै भनिन, ‘देश जलाउनेको विपक्ष र देश बनाउनेको पक्षमा रहेको छु ।’ तर महाधिवेशनको समयमा उनले खुलेर एमालेका उम्मेदवारको पक्षमा सक्रिय भई प्रचारमा भाग लिनु राजनीतिक चेतनाको संकेत भएको छ ।

एमाले महाधिवेशनको चौथो दिन मतदानसँगै प्रचार पनि जोडदार रुपमा जारी छ । अध्यक्षका उम्मेदवार ओली र ईश्वर पोखरेल दुवै सँगसँगै मत माग्दै हिँडिरहेका छन् भने ज्योति जस्ता कलाकारको सहभागिता पार्टीको प्रचार अभियानलाई थप रंगीन र चर्चा योग्य बनाएको छ । सामाजिक सञ्जाल र मिडियामा ज्योतिको सक्रियता र एमाले महाधिवेशनसँगको उनको सम्बन्धले युवापुस्तामा पनि राजनीतिक चेतना जगाउने एक उदाहरणको रुपमा देखिएको छ ।

 

 

२९ वर्षमै एमालेको निर्विरोध केन्द्रीय सदस्य : यसरी सम्भव भयो रौनितको राजनीतिमा उदय

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट सर्लाहीका रौनित साह २९ वर्षकै उमेरमा पार्टीको केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् । मधेश प्रदेशबाट ४० वर्षमुनिका युवाको कोटामा निर्विरोध निर्वाचित साह केन्द्रीय कमिटीमा पुग्ने सबैभन्दा कान्छा सदस्यमध्ये परेका छन् । २०५२ साल माघ २८ गते जन्मिएका साह पछिल्ला १२–१३ वर्षदेखि एमाले संगठनमा सक्रिय रहेको दाबी गर्छन् । उनी तीन कार्यकाल जिल्ला कमिटी सदस्य, हाल सर्लाही जिल्ला कमिटी अध्यक्ष तथा भूमि आयोग सर्लाहीका सदस्य समेत हुन् । भारतको बैंग्लोरबाट बीबीए अध्ययन गरेका साह हाल पूर्ण रूपमा पार्टी राजनीतिमै संलग्न रहेको बताउँछन् ।

एमालेको नयाँ विधानअनुसार केन्द्रीय कमिटीमा ४० वर्षमुनिका १५ युवालाई समेट्ने व्यवस्था गरिएको छ । यही व्यवस्थाअन्तर्गत मधेसी युवाबाट सर्लाहीका रौनित साह र महोत्तरीका अमरकुमार यादव निर्विरोध चयन भएका हुन्। तर साहको उदयसँगै परिवारवादको आरोप पनि लाग्ने गरेको छ । उनी एमाले सर्लाही जिल्ला कमिटी अध्यक्ष राजनारायण साहका छोरा हुन् । गत मंसिर १४ गते महाधिवेशन प्रतिनिधि छनोटका क्रममा जिल्लामा असन्तुष्टि देखिएको थियो । पार्टी निर्माणमा लामो समयदेखि योगदान गरेका केही सक्रिय नेता–कार्यकर्तालाई पाखा लगाएर अध्यक्ष साहले आफ्नै परिवारका सदस्यलाई अघि सारेको आरोप एमालेकै नेताहरूले लगाएका छन् ।

अनेरास्ववियुका केन्द्रीय सचिव तथा प्रवक्ता समिमबाबु पठानले आफू ०६७ सालदेखि विद्यार्थी आन्दोलनमार्फत पार्टीमा सक्रिय रहे पनि महाधिवेशन प्रतिनिधि बन्न नपाएको गुनासो गरेका छन् । प्रतिनिधि छनोटमा परिवारवाद देखिएको भन्दै उनले त्यसबेला व्यापक असन्तुष्टि रहेको बताएका छन् ।
आरोपबारे प्रतिक्रिया दिँदै रौनित साहले आफू बुवाको कृपाले नभई पार्टीभित्रको सक्रियता र सिफारिसकै आधारमा केन्द्रीय सदस्य बनेको दाबी गरेका छन् । ‘क्षेत्रका युवाहरूले नै मलाई प्रतिनिधिमा सिफारिस गरेका हुन्,’ उनले भने, ‘कसैलाई अवसर नपर्नु मेरो दोष होइन ।’

एकातिर एमालेले युवालाई नेतृत्वमा ल्याउने सन्देश दिएको छ भने अर्कोतिर रौनित साहको चयनले पार्टीभित्र योग्यता बनाम पहुँचको बहस पुनः सतहमा ल्याएको छ । २९ वर्षमै केन्द्रीय कमिटीमा पुगेका साहको राजनीतिक यात्रा आगामी दिनमा संगठन सुदृढीकरणतर्फ जान्छ कि आलोचनालाई पुष्टि गर्ने दिशामा, त्यो भने उनको काम र भूमिकाले नै तय गर्नेछ ।

 

 

 

 

 

प्रतिष्पर्धालाई तिक्तताको रूपमा लिनु हुन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया लोकतान्त्रिक अभ्यास र आपसी सौहार्दताका साथ अघि बढिरहेको छ । अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धालाई नकारात्मक रूपमा लिन नहुने स्पष्ट पार्दै यसलाई लोकतन्त्रको स्वाभाविक अभ्यासका रूपमा बुझ्न आग्रह गरेका छन्।

महाधिवेशनस्थलमा प्रतिनिधिसँग भोट माग्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने प्रक्रियामा सबैले खुला र सकारात्मक सहभागिता जनाइरहेको बताए । उनले नेतृत्व चयनका क्रममा देखिने प्रतिस्पर्धालाई तिक्तता वा विभाजनको संकेतका रूपमा व्याख्या गर्नु गलत हुने धारणा राखे । उनका अनुसार विगतमा पार्टी गम्भीर विभाजनको जोखिममा परेका बेला विशेष परिस्थिति थियो, तर अहिले एमाले त्यस्तो अवस्थामा नरहेको र विचार, संगठन तथा लक्ष्यका हिसाबले पार्टी एकताबद्ध रहेको छ ।

पोखरेलले पार्टीभित्र विचार, संगठन र कार्यदिशामा कुनै मतभेद नरहेको जिकिर गर्दै कार्यसम्पादनको शैली, वैचारिक स्पष्टता र संगठनात्मक व्यवस्थापनलाई अझ सुदृढ बनाउने सन्दर्भमा विभिन्न साथीहरू आ–आफ्ना मान्यतासहित अघि बढेको बताए । यस्तो बहस र प्रतिस्पर्धा पार्टीलाई अझ सबल बनाउने माध्यम भएको उनको भनाइ थियो ।

महाधिवेशनमा देखिएको अर्को उल्लेखनीय पक्ष भनेको नेतृत्व प्रतिस्पर्धाका बीच पनि कायम रहेको सौहार्दता हो । मतदान चलिरहेको समयमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल एकसाथ प्रतिनिधिहरूसँग भेट्दै भोट मागिरहेका देखिएका छन्। उनीहरूसँगै उपाध्यक्षका उम्मेदवार विष्णु पौडेल, महासचिवका उम्मेदवार शंकर पोखरेललगायत नेताहरू पनि संयुक्त रूपमा मतदातासँग संवादमा जुटिरहेका छन् ।

मतदान प्रक्रिया जारी रहँदा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्यका लागि चुनाव भइरहेको छ भने केही केन्द्रीय सदस्य निर्विरोध चयन भइसकेका छन् । महाधिवेशनमा कुल २२ सय ६२ जना प्रतिनिधि सहभागी छन् र दिउँसो १२ बजेसम्म करिब चार सय मत खसिसकेको जानकारी दिइएको छ। महासचिवका उम्मेदवार शंकर पोखरेलले पनि यो निर्वाचन प्रक्रियाले एमालेभित्र आन्तरिक लोकतन्त्र बलियो र जीवन्त रहेको प्रमाणित गरेको बताएका छन् । समग्रमा, नेतृत्वका लागि कडा प्रतिस्पर्धा भए पनि एमाले महाधिवेशनले सहकार्य, पारदर्शिता र लोकतान्त्रिक संस्कृतिको सन्देश दिइरहेको देखिन्छ, जसले पार्टीलाई आगामी दिनमा अझ संगठित र सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

 

 

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) ।  वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १२ अर्ब एक करोडअर्थात् १४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । जबकी कार्यालयले गत आवको पाँच महिनामा भने रु ८४ अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको पाँच महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको बताएका छन् । “कार्यालयले मङ्सिर महिनामा रु २१ अर्ब ३३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले सो महिनामा मात्रै लक्ष्यको ९८ प्रतिशतअर्थात् रु २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको छ ।”

प्रमुख भन्सार प्रशासक ज्ञवालीले चालु आवको पाँच महिनामध्ये सबैभन्दा धेरै राजस्व पनि मङ्सिर महिनामा सङ्कलन भएको बताए । साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोज महिनामा रु १९ अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो ।

त्यस्तै कात्तिक महिनामा रु १७ अर्ब ३३ करोड र मङ्सिर महिनामा भने रु २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयालाई वर्षभरिमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ । हालसम्मको पाँच महिनामा वार्षिक लक्ष्यको ८७ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

एमाले महाधिवेशनमा ‘क्रस भोटिङ’, लिस्ट फेरबदलको आरोपमा एक जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) को महाधिवेशनमा बुधबार बिहानदेखि मतदान जारी छ । भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ भने मतदान गरेर निस्किएका धेरै प्रतिनिधिले प्यानल नहेरी ‘क्रस भोटिङ’ गरेको बताएका छन् । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्ने प्रतिनिधिहरूले पार्टीलाई एकताबद्ध राख्न दुवै पक्षका सक्षम उम्मेदवारलाई मत दिएको बताएका हुन् । अध्यक्षमा भने प्यानलअनुसार मत हालिएको भए पनि उपाध्यक्ष, महासचिव र सचिवमा मिश्रित रूपमा मतदान भएको उनीहरूको भनाइ छ । महासचिवमा कडा प्रतिष्पर्धा देखिएको भन्दै प्यानलभन्दा व्यक्ति हेरेर मत दिएको प्रतिक्रिया पनि आएको छ ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिष्पर्धामा छन् । महासचिवमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन् । एमालेको १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि दुवै पक्षले प्यानल बनाएर प्रतिष्पर्धा गरिरहेका छन् । महाधिवेशनमा ६ सय बढी उम्मेदवार छन् भने २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेका छन् । मतदान राति १० बजेसम्म चल्ने र त्यसलगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यहीबीच, प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीका अनुसार अछाम घर भएका शंकर सावदलाई मतदान केन्द्र परिसरबाट नियन्त्रणमा लिइएको हो । सावदले दुवै प्यानलका उम्मेदवारहरूको नाम अदलबदल गरेर तयार पारेको सूची वितरण गरेको आरोप एमाले कार्यकर्ताहरूले लगाएका छन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मतदानस्थलमा प्रतिनिधिहरू लामबद्ध देखिन्छन् भने दुवै समूहका नेता तथा समर्थकहरू आफ्ना उम्मेदवारका पक्षमा मत माग्दै सक्रिय छन् । ‘क्रस भोटिङ’ को चर्चा र लिस्ट फेरबदल प्रकरणले महाधिवेशनको प्रतिष्पर्धा थप चासोको विषय बनेको छ ।

 

 

एमाले महाधिवेशनमा मतदान धमाधम, आजै राति नतिजा

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदान आजै सम्पन्न गरी रातिबाटै मतगणना सुरु गर्ने तयारी गरिएको छ। काठमाडौँको भृकुटीमण्डपमा भइरहेको मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित पार्टीको केन्द्रीय निर्वाचन आयोग अघि बढिरहेको छ। एमाले नेता राजेन्द्र गौतमले बुधबार बिहान मतदानस्थलमै आयोजित प्रेस ब्रिफिङमा मतदान प्रक्रिया अनुमानित समयमै अगाडि बढिरहेको जानकारी दिए । उनका अनुसार प्रतिनिधिको संख्या, प्रयोगमा रहेका भोटिङ मेसिन र मतदान प्रक्रियालाई आधार मान्दा साँझ ८–१० बजेसम्म मतदान सकिने र त्यसको दुई घण्टाभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्न सकिने अवस्था छ ।

भृकुटीमण्डपमा ८० वटा भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ । यद्यपि मेसिन प्रयोग भए पनि उम्मेदवारको संख्या धेरै भएकाले एक प्रतिनिधिलाई मतदान गर्न २० देखि ३० मिनेटसम्म लाग्ने गुनासो मतदाताहरूले गरेका छन् । एक पटकमा ८० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था गरिएको छ। एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले पनि आजै राति मतदान सम्पन्न हुने र मध्यरातिबाटै मतगणना सुरु गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार प्रारम्भिक अनुमानअनुसार राति ८ बजेसम्म मतदान सकिनुपर्ने भए पनि एक–दुई घण्टा ढिलो हुन सक्ने सम्भावना छ । तर राति १० बजेसम्म मतदान सकिएपछि गणना प्रक्रिया तत्कालै सुरु गरिनेछ ।

यस निर्वाचनमार्फत ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ । पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना निर्वाचित हुनेछन् । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ । समग्रमा करिब ६ सय ५० जनाजति उम्मेदवार चुनावी मैदानमा छन् । पार्टी नेतृत्व चयनका लागि निर्णायक मानिएको यस निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारीले एमाले महाधिवेशन थप रोचक र निर्णायक चरणमा प्रवेश गरेको छ ।