`

रामहरि खतिवडाको आरोप : अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिंड्न थाल्यो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारको ध्यान निर्वाचन गराउनेतिर नभएको आरोप लगाएका हुन् । सरकारले मन्त्री बनाउन भ्रष्ट्रहरु खोजेर हिंडेको उनले आरोप लगाए । छानीछानी भ्रष्टहरुलाई मात्रै मन्त्री बनाएको उनको दाबी छ । उनले वर्तमान सरकारमा केही मन्त्रीहरु भने काम गर्ने जस्ता देखिएको भए पनि सरकारको मुख्य काम निर्वाचनतर्फ भने कोही केन्द्रित नभएको उनले बताए ।

उनले भने, ‘सरकार चुनाव गराउने बाटोमा छैन । मन्त्रीमण्डल विस्तारमा केन्द्रित छ । ती पनि भ्रष्ट जो–जो छन्, तिनीहरुलाई मात्रै खोज्दै हिँडेको छ । भर्खरै मैले सुन्दै थिएँ, अब विवादित मान्छेहरु आएका छन् । केही मान्छेहरु काम गर्ने जस्ता पनि देखिएका छन् । तर पनि सरकार अहिले चुनाव गराउने अवस्थामा गएको छैन । हामी आफ्नो महाधिवेशनसहित चुनावको तयारीमा तीब्रतर गतिमा लागेका छौँ ।’ उनले कांग्रेसले आम निर्वाचनसँगै महाधिवेशनको समेत तयारी गरिरहेको जानकारी दिए । महाधिवेशनको लागि हाल क्रियाशिल सदस्य नविकरण र वितरणको काम भइरहेको बताए ।

महेशलाई सचिव ‘पुरस्कार’, भानुभक्तको पहिलोपल्टै उपमहासचिवमा ‘छलाङ’

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी उम्मेदवारहरूको सूची लगभग टुंग्याएका छन् । यसक्रममा ओलीका विश्वास पात्र मानिने दुई नेताको नाम चर्चामा आएको छ-पोलिटब्युरो सदस्य महेश बस्नेत सचिव पदका उम्मेदवार र स्थायी कमिटी सदस्य भानुभक्त ढकाल उपमहासचिव पदका उम्मेदवार बन्दै छन् ।

१०औँ महाधिवेशनमा पोलिटब्युरो सदस्य निर्वाचित भएका महेश बस्नेतलाई यस पटक सचिव पदमा अघि सारिएको हो । पार्टीभित्र ओलीप्रति निष्ठावान नेताका रूपमा चिनिने बस्नेतले जेनजी आन्दोलनपछि सत्ताच्युत भएका बेला ओलीको सुरक्षा र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको चर्चा छ ।भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि करिब एक साता सेनाको सुरक्षा घेरामा रहेका ओलीलाई सुरक्षित रूपमा भक्तपुरको गुण्डु पुर्‍याउनेदेखि त्यहीँ कुटी निर्माणको व्यवस्था मिलाउनेसम्मको जिम्मेवारी बस्नेतले सम्हालेको बताइन्छ । यही कारण ओलीले ‘गुन तिरेको’ चर्चा एमाले वृत्तमा चल्न थालेको छ ।

यता, अहिलेसम्म एमालेको कुनै पनि पदाधिकारी नभएका भानुभक्त ढकाल एकै पटक उपमहासचिव पदका उम्मेदवार बन्ने भएका छन् । स्थायी कमिटी सदस्य रहेका ढकाल अध्यक्ष ओलीका निकटतम सहयोगीमध्ये एक मानिन्छन् । ओली नेतृत्वको सरकारमा उनी स्वास्थ्यमन्त्री समेत भइसकेका थिए । हाल उनी ११औं महाधिवेशनको स्वयंसेवक परिचालन समितिको संयोजकको जिम्मेवारीमा छन् ।

पार्टीभित्र लामो समयदेखि पदाधिकारी बन्ने प्रतीक्षामा रहेका नेताहरूबीच असन्तुष्टि देखिन सक्ने अनुमान गरिए पनि ओलीले आफ्नो भरोसाको घेरालाई प्राथमिकतामा राखेको संकेत यी निर्णयले दिएको विश्लेषण भइरहेको छ । पुस १ गते हुने महाधिवेशनको निर्वाचनले यी उम्मेदवारहरूको राजनीतिक भविष्य मात्र होइन, एमालेको भावी शक्ति सन्तुलन समेत तय गर्ने देखिन्छ ।

काठमाडौं महानगरले मनायो ३१ औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं। आज काठमाडौं महानगरपालिकाले ३१ औँ स्थापना दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा विशेष कार्यक्रम गरिएको हो ।

काठमाडौं महानगरले हरेक वर्ष मंसिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरे ।

उनले त्यसका लागि नवीन सोच, शैली र योजना एवम् त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेकोमा जोड दिएका छन् ।

बालेनको मन्तव्य: काठमाडौँ महानगरपालिकामा बस्छु भनेर गर्व गर्ने शहर बन्दैछ

काठमाडौं । वि. सं. १९७६ सालमा सफाइ अड्डका रुपमा स्थापना भएर २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा भएको काठमाडौँ महानगरपालिकाको मूल पहिचान सांस्कृतिक वैभवयुक्त सहर हो ।

यो वैभवलाई संरक्षण र पुस्तान्तरण गर्दै समृद्धि र विकासका आयाममा, यस अघिका विभिन्न कालखण्डमा काम गर्ने जनप्रतिनिधि र राष्ट्रसेवक, साझेदार, महानगरबासी तथा शुभेच्छुकको साथ र सहयोगलाई उच्च कदर गर्दै स्मरण गर्न चाहन्छु । ३१ औँ महानगर दिवसका अवसरमा सम्पूर्ण महानगरबासी, विकास साझेदार, राष्ट्रिय अन्तरराष्ट्रिय निकाय, निजी, उद्योग तथा वाणिज्य क्षेत्र सहित आम शुभेच्छुकहरुमा सुस्वास्थ्य, आरोग्य र ऐश्वर्य जीवनका लागि शुभकामना व्यक्त गर्दछु ।

काठमाडौँ महानगरपालिका आम महानगबासीको सर्वोत्तम हितका निम्ति दत्तचित्तले काम गरिरहेको छ । आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र महानगरपालिकाले नियमित काम गर्ने क्षेत्र हुन् । प्राकृतिक सम्पदा र मानव निर्मित सिर्जनाको संरक्षण, संवर्धन र प्रवर्धन गरेर सहरको सांस्कृतिक पहिचानलाई अक्षुण्ण राख्नु, सहरी स्वच्छता र सरसफाइ गर्नु, समृद्धिका लागि एकीकृत पूर्वाधार विकास गर्नु, दैनिक सेवा प्रवाहलाई सहज र चुस्त बनाउनु, आम मानिसको जीवनलाई सहज बनाउनु हाम्रा दायित्व हुन् । यी दायित्वप्रति उत्तरदायी, इमान्दार भएर मितव्ययी तथा पारदर्शी भइ कार्य सम्पादन गरिरहेका छौँ ।

नियमित काम सँगै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिन स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्धन, वातावरण सुधार र पूर्वाधारका कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाका रुपमा कार्यान्वयनमा ल्याइएका छन् । यस्तै, आम नागरिकको प्रत्यक्ष चासोका रुपमा रहेका निरन्तर सञ्चालन हुने कार्यमध्ये प्राथमिकतामा राख्नु पर्ने कार्यक्रमलाई स्वर्णिम योजनाका रुपमा राखिएको छ ।

यसरी सञ्चालन गरिएका कार्यक्रममध्ये धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधारको काम सम्पन्न भएको छ । ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान गरिएको छ । स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर कायम गराउन, रात्रीकालीन सहरी सौन्दर्यलाई एकनाशको बनाउन ५ हजार ३१८ वटा पोलमा १३ हजार ३४० वटा बती राखेर सहरलाई उज्यालो बनाउँदैछौँ ।

हामी काठमाडौँ महानगरमा आए पछि २३ अरब रुपियाँ मूल्य बराबरको २०८ रोपनी भन्दा धेरै सार्वजनिक जग्गा फिर्ता गरिसकेका छौँ । हाम्रो लक्ष्य करिब २ खरव मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना जग्गा अतिक्रमण मुक्त गराउने रहेको छ । यस कार्यमा सबैबाट साथ र सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा राखेका छौँ ।

गएको वर्ष हामीले करिब २ अरब ८६ करोड रुपियाँ बराबरका पूर्वाधार योजना सम्पन्न गर्‍यौँ । करिब ९१ करोड लागत बराबरका सम्पदा संरक्षणमा काम गर्‍यौँ । यसबाट २७६ वटा मूर्त सम्पदा सम्बन्धी आयोजना र १२५ वटा अमूर्त सम्पदा सम्बन्धी कार्यक्रम सञ्चालन भए ।

यस वर्ष १ हजार ८७ जनाको विपन्न नागरिक उपचार शिफारिस भयो । वेवारिसे, विपन्न र वेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरियो । ३२ वडामा स्वास्थ्य प्रवर्धन केन्द्रसहित ३५ वटा स्वास्थ्य संस्थामा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेका छौँ । फिजियोथेरापी सहित निदानात्मक, परामर्श सेवा सहित प्रवर्धनात्मक र ओपीडी सहित उपचारात्मक सेवा प्रारम्भ गरेका छौँ । १० वटा केन्द्रलाई बिमाको प्रथम सेवा विन्दुका रुपमा सञ्चालन गरेका छौँ ।

विद्युतीय शासन अन्तर्गत इशिफारिस र इकार्यालय प्रणाली कार्यान्वयमा ल्यायौँ । सफ्टवेयर डिभलपमेन्ट तथा सञ्चालन कार्ययोजना स्वीकृत गर्‍यौँ । घरधुरी सर्वेक्षणअन्तर्गत ड्रोन र डीजीपीएस सर्वेक्षण, लेयर डिजिटाइजेसन र नक्साङ्कनको काम भएको छ ।

१५२ वटा आगलागीका घटना, १४३ वटा जोखिमयुक्त रुख व्यवस्थापन र १३० वटा जलजन्य विपद व्यवस्थापन भयो । २ हजार ८९६ मिटर फायर ड्राइराइजर प्रणाली स्थापना भएको छ ।

सहरी योजना आयोगबाट १६४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएका छन् ।

६ अरब ३३ करोड ५८ लाख ५९ हजार २४६ रुपियाँ लागत अनुमान भएका २५१ वटा योजना बोलपत्र प्रक्रियामार्फत खरिद गरियो । यी योजनाहरु प्रतिस्पर्धाका माध्यमबाट ५ अरब ४ करोड ९४ लाख ४३ हजार २४९ रुपियाँ लागतमा प्राप्त गरेर १ अरब २८ करोड ६४ लाख १५ हजार ९९७ रुपियाँ बचत भयो ।

कल सेन्टरमार्फत ८ हजार २०६ वटा र हेल्लो सरकारबाट १ हजार १०५ वटा गुनासा प्राप्त भएका थिए । यीमध्ये कल सेन्टरमा आएका ७ हजार ६९७ वटा र हेल्लो सरकारबाट आएका ७२० वटा गुनासा फर्स्योट गरियो । बाँकी फर्स्योट चरणमा छन् ।

यस वर्ष ३० हजार ३२३ जना ज्येष्ठ नागरिकहरुलाई मासिक ४ हजार रुपियाँका दरले सामाजिक सुरक्षा भत्ता प्रदान ग¥यौँ । यस्तै ज्येष्ठ नागरिक (दलित) भत्ता, ज्येष्ठ नागरिक एकल महिला भत्ता, एकल महिला भत्ता, पूर्ण अपाङ्गता भत्ता महानगरपालिकाले नियमित प्रदान गरेका भत्ता हुन् ।

ज्येष्ठ नागरिकहरुलाई वडाबाट तीर्थाटन गराउने कामलाई निरन्तरता दिएका छौँ । जोखिमपूर्ण श्रममा रहेका, अनाथ र यौनजन्य हिँसा पीडित बालबालिकालाई उद्धार, अस्थायी संरक्षण र पारिवारिक पुनर्मिलन गराइएको छ ।

सामुदायिक शिक्षाको सुधारका लागि डिजिटल शिक्षण प्रणाली, सीसीडी र ईसीडी कक्षा सञ्चालन, प्रणालीमा आधारित छात्रवृत्ति प्रदान कार्यलाई प्राथमिकतामा राखिएको छ ।

हामी कार्यालय सञ्चालन खर्चलाई घटाउने र पूँजीगत खर्चलाई विशेष महत्व दिएर बढाउने काम गरिरहेका छौँ । यसमा बहाल करको क्षेत्र विस्तार गरेका छौँ । नागरिकबाट संकलन गरिएको राजस्वलाई नागरिकको सामुहिक हितका क्षेत्रमा खर्च गरेका छौँ ।

स्थानीय स्रोत र साधनको अधिकतम प्रयोगबाट रैथाने सिपलाई आयमा रुपान्तरण गर्न उद्यममा आधारित ‘एक वडा, एक कार्यक्रम’’ सञ्चालन गरेका छौँ । यसबाट महानगरपालिका र स्थानीयको सम्बन्ध जोडिएको छ ।

विकेन्द्रीकरणका माध्यमबाट स्थानीय समस्या समाधान गर्न न्याय चौतारी, मेलमिलाप प्रवर्धन, महिला सञ्जाल र कानुनी सहजकर्ताको प्रबन्ध गरिएको छ । यसले, नागरिकमा न्यायको पहुँच वृद्धि भएको छ ।

महानगरबासीसँग बाचा गरेका काममध्ये यी प्रतिनिधिमूलक काम हुन् । यस्ता सार्वजनिक महत्वका तत्कालीन, मध्यकालीन र दीर्घकालीन धेरै योजनाहरु बनाएका छौँ । जसको कार्यान्वयनबाट महानगरबासीले म काठमाडौँ महानगरपालिकामा बसोबास गर्छु भनेर गर्व हुनेछ । यसका लागि संघ, प्रदेश र स्थानीय सरकारहरु, विकासका राष्ट्रिय अन्तरराष्ट्रिय साझेदार, नागरिक समाज, उपभोक्ता समिति, टोल सुधार समिति, क्लव, निजी, उद्योग तथा वाणिज्य क्षेत्र सबैप्रति नियमित साथ र सहयोगका लागि अपिल गर्दछु ।

(३१औै महानगर दिवसका अवसरमा आयोजित समारोहमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले राखेको मन्तव्यको सम्पादित अंश)

बुवाको काजक्रियापछि महानगर दिवसको कार्यक्रममा फरक रुपमा देखिए बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बुवाको काजक्रियापछि आफ्नो नियमित काममा फर्किएका छन् । उनी पितृशोकका कारण विदामा रहेका थिए ।

बुवाको १३ दिनको काजक्रिया सकेर बालेन आज कार्यालय फर्किएका हुन् । काठमाडौं महानगरपालिकाको ३१ औं स्थापना दिवसको कार्यक्रममा उनी सहभागी हुन् ।

कार्यक्रममा उनले लिखित मन्तव्य दिए । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायतको सहभागीता थियो । बालेनले राष्ट्रपति पौडललाई स्वागत र विदाइ गरे ।

यसअघि लामो कपाल र दारी बालेनको पहिचान थियो भने अहिले उनी फरक रुपमा देखिन्छन् । बुवाको काजक्रियाका क्रममा उनले दारी–कपाल खौरिएका थिए । बालेनका पिता रामनारायण साहको गत १५ मंसिरमा निधन भएको थियो ।

बैंकहरूले पुसका लागि घटाए ब्याजदर घटाए, कसको कति ?

काठमाडौं । एक दर्जन बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ । आज सार्वजनिक भएको बैंकहरूको सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ । मंसिर महिनामा सो दर ५.०४०५ प्रतिशत विन्दु थियो ।

अहिले औसत ब्याजदर ०.२०६५ प्रतिशतबिन्दुले घटेको हो । १३ बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोवल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले घटाएका छन् । प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतले र कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् । ७ वाणिज्य बैंकहरूले (सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंक) मंसिर महिनाकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् ।

पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोवल आइएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिनेछन् । सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ । यसैगरी संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि मंसिरको तुलनामा पुसमा ०.१३ प्रतिशतविन्दुले घटेको छ । पुस महिनाका लागि ५ वाणिज्य बैंकहरूले संस्थागत मुद्दतिको अधिकतम ब्याजदर घटाएका छन् । यस्तै, बाँकी १५ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् ।
मुद्दती निक्षेपको अधिकतम ब्याजदर

पतञ्जली जग्गा प्रकरण : माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दाको सुनुवाइ सोमबार विशेष अदालतमा हुने भएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा उक्त मुद्दा पेश हुने तय भएको हो । अदालतको कार्यसूचीअनुसार नेपालसम्बन्धी मुद्दा तेस्रो नम्बरमा राखिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आरोपअनुसार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले काभ्रेपलाञ्चोकको साँगामा रहेको हदबन्दी छुटको जग्गा पतञ्जलीले खरिद गर्न पाउने निर्णय गरेको थियो । त्यति मात्र होइन, उक्त जग्गा पछि बिक्री गर्न समेत अनुमति दिइएको विषयलाई अख्तियारले गैरकानुनी र भ्रष्टाचारजन्य कार्य ठहर गरेको छ ।

अभियोगपत्रमा उल्लेख भएअनुसार २०६६ माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले पतञ्जलीलाई ८१५ रोपनी जग्गा हदबन्दी छुटअन्तर्गत खरिद गर्न स्वीकृति दिएको थियो । त्यसपछि २०६६ चैत ६ गते पुनः मन्त्रिपरिषद् बैठकबाट सोही जग्गा बिक्री गर्न पाउने निर्णय गरियो । सरकारको यस्तो निर्णयका कारण राज्यलाई हानि पुगेको र नीतिगत आवरणमा भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको हो ।

अख्तियारले माधव नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यसअघि मुद्दाको प्रारम्भिक सुनुवाइपछि विशेष अदालतले असार ११ गते नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अब नियमित सुनुवाइको क्रममा अदालतले अभियोग, प्रमाण र प्रतिवादी पक्षका तर्कहरू सुन्नेछ । यो मुद्दालाई उच्च राजनीतिक तहसँग जोडिएको ठूला भ्रष्टाचार प्रकरणका रूपमा हेरिएको छ, जसको फैसलाले राजनीतिक र कानुनी दुवै क्षेत्रमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

 

 

 

दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरेका छन् । उनले त्यसका लागि नवीन सोच, शैली र योजना एवम् त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेकोमा जोड दिए ।

राष्ट्रपति पौडेलले ३१औँ महानगर दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरे। “सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित होऔँ, इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पन्ने दायित्व हाम्रो काँधमा छ, यो दायित्व पूरा गर्नबाट हामी चुक्न हुँदैन भन्ने म ठान्दछु, त्यसका लागि नवीन सोच, शैली र योजना तथा त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ”, राष्ट्रपति पौडेलले भने ।

उनले राजनीति पेसा, व्यवसाय होइन यो त समाजसेवाको उत्कृष्ट माध्यम हो भन्ने भाव हामी सबैमा जागृत हुन जरुरी छ भने । “नेपाली जनताले यतिबेला हामीसँंग गरेको मुख्य अपेक्षा नै यही हो भन्ने पनि हामी नभुलौँ”, राष्ट्रपति पौडेलले भने । युवा पुस्ताको आन्दोलनमा प्रकट भएको चाहना पनि यही रहेको उनको भनाइ थियो । मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि भएकाले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पारेर अघि बढ्न राष्ट्रपति पौडेलले अपिल गरेका छन्।

“मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो, त्यही भएर युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरूप दिन आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ, यसलाई सफल पारेर अघि बढौँ र सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी बनौँ भन्ने अपिल पनि म यस अवसरमा गर्दछु”, राष्ट्रपति पौडेलले भने ।

काठमाडौँ महानगरपालिकाले सम्पादन गरेका काम, प्रवाह गरेको सेवा र विस्तार गरेको सम्बन्धबाट स्थानीय सरकारका रूपमा आफ्नो जिम्मेवारीबोधलाई उजागर गरेको तथा आर्थिक, सामाजिक, भौतिक विकास र सहरी व्यवस्थापनमा देखाएको नविनपना र सक्रियता प्रशंसनीय रहेको उनको भनाइ थियो । “सेवाग्राही, लाभग्राहीलाई प्रदान गरिएका सेवा, सुविधा र योजनाले महानगरमा रहेको युवा नेतृत्व र ऊर्जाशील जनप्रतिनिधिको सक्रियताको सार्थकता पुष्टि गरेको मैले ठानेको छु”, राष्ट्रपति पौडेलले भने।

उनले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली, हरियाली प्रवद्र्धनसहित प्राकृतिक सम्पदा, मठमन्दिर, तलाउ, पोखरी, ढुङ्गेधारा, भौतिक सम्पदाको अस्तित्व पुनःस्थापना, एकीकृत सहरी विकासको प्रयास महानगरपालिकाका उदाहरणीय काम हुन् भने । साथै उनले विद्युतीय शासनमा सूचना सञ्चार तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग, एकीकृत प्रणालीबाट पारदर्शी एवं उत्तरदायी सेवाका लागि एकल सेवा केन्द्र सञ्चालन, गुनासो व्यवस्थापन प्रणालीलाई प्राथमिकता दिनुले महानगरपालिकालाई नागरिकमैत्री, उत्तरदायी, पारदर्शी र सेवाग्राहीमैत्री बनाएको बताए । “यसले नागरिकको आँगनको सरकार स्थानीय शासनका लागि सवल भएको सन्देश दिएको छ”, राष्ट्रपति पौडेलले भने।

काठमाडौँ नेपालको राजनीतिक परिवर्तन तथा शासकीय व्यवस्था रूपान्तरणको अनुभूति गर्ने सहर पनि भएकाले यो महानगरले अख्तियार गर्ने नीति, योजना, काम र कार्यक्रम मात्र होइन यसका भोगाइ तथा सिकाइ अन्य पालिकाका लागि उदाहरणीय हुने धारणा उनले व्यक्त गरे । “त्यसैले, तपाईँहरूले काम गर्दा सदैव उत्कृष्ट नीति, कार्यक्रम र योजना प्रस्तुत गर्न कुनै कसर बाँकी राख्नुहुने छैन भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भने ।

उनले राजधानी सहरको समृद्धिका लागि महानगरपालिकाले बनाएको नीतिगत व्यवस्था, कार्यक्रम, योजना कार्यान्वयनमा सङघ र प्रदेश सरकारलगायत सबै निकायको साथ र सहयोग जरुरी रहेको धारणा व्यक्त गरे । सो अवसरमा राष्ट्रपति पौडेलले इतिहास र संस्कृतिको बेजोड सङ्गमका रूपमा रहेको राजधानीस्थित् आधुनिक समयका महानगरवासीको आवश्यकता, चाहना र सपना सम्बोधन गर्र्ने गुरुत्तर दायित्व निर्वाहमा काठमाडौँ महानगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्नै विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको सहभागिता रहेको थियो । महानगर दिवसका अवसरमा विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई राष्ट्रपति पौडेलले सम्मान गरेका थिए ,भने उपराष्ट्रपति यादवले उत्कृष्ट काम गर्ने जनप्रतिनिधिलाई पुरस्कार दिएका थिए ।

लेखराज भट्टले किन गरे सचिवमा उम्मेदवार नबन्ने घोषणा ?

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनका क्रममा अध्यक्षका दाबेदार केपी शर्मा ओली समूहबाट सचिव पदका लागि तय गरिएको नाममध्ये एक लेखराज भट्टले उम्मेदवारी नदिने घोषणा गरेपछि पार्टीभित्रको पदाधिकारी समीकरण फेरिने संकेत देखिएको छ । पूर्व माओवादी पृष्ठभूमिका नेता भट्टले सचिव पदमा प्रतिष्पर्धा नगर्ने स्पष्ट गरेसँगै ओली समूहले अब उनको स्थानमा नयाँ उम्मेदवार अघि सार्नुपर्ने अवस्था आएको छ ।

महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि ओलीले आफ्नो समूहबाट नेतृत्व टिमको खाका सार्वजनिक गरिसकेका थिए । सोही खाकाअनुसार उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंग्याइएको थियो । महासचिव पदमा आकांक्षा देखाएका ज्ञवालीलाई अन्ततः उपाध्यक्षमा सीमित गर्दै शंकर पोखरेललाई महासचिव बनाउने सहमति जुटेको हो । अन्तिम समयसम्म पोखरेलले दाबी नछाडेपछि ओलीको रोजाइअनुसार उनी महासचिवमा अघि सारिएका हुन् ।

उपमहासचिवतर्फ रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम फाइनल गरिएको छ । सचिव पदमा नौ जना निर्वाचित हुने व्यवस्था रहेकोमा ओली समूहबाट पद्मा अर्याल, छवि विश्वकर्मा, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराईको नाम यसअघि नै तय भइसकेको थियो । त्यही सूचीमा रहेका लेखराज भट्टले उम्मेदवार नबन्ने निर्णय गरेपछि सचिव पदका लागि एक स्थान रिक्त भएको छ । भट्टको निर्णयले एमालेभित्र विशेष गरी पूर्व माओवादी पृष्ठभूमिका नेताहरूको प्रतिनिधित्व र सन्तुलनबारे नयाँ बहस सुरु गराएको छ । अब ओली समूहले उक्त स्थानमा कसलाई अघि सार्छ भन्ने विषयले महाधिवेशनको अन्तिम चरणमा थप चासो र चर्चा बढाउने देखिन्छ ।

 

बढ्दै एमाले महाधिवेशनको सरगर्मी, १४ सय बढीले लिए मनोनयन फाराम

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनको चुनावी प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा सोमबार बिहान ११ बजेपछि उम्मेदवारी दर्ताका लागि मनोनयन फाराम वितरण सुरु गरिएको हो । महाधिवेशन प्रचार कमिटी सदस्य चेतन अधिकारीका अनुसार सोमबार मध्याह्नसम्म १४ सय बढी मनोनयन फाराम वितरण भइसकेका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार मनोनयन फाराम वितरणको समय मध्यान्ह १२ बजेसम्म तोकिएको थियो भने उम्मेदवारहरूले दिउँसो साढे १ बजेसम्म दरखास्त फाराम दर्ता गर्न पाउने व्यवस्था गरिएको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारहरूको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिनेछ । प्रारम्भिक नामावली प्रकाशनपछि सोही नामावलीमाथि दाबी–विरोध तथा उजुरी दिन दिउँसो साढे २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । प्राप्त उजुरीहरूमाथि छानबिन तथा निर्णय दिउँसो ३ः१० बजेसम्म गरिने कार्यतालिका रहेको छ ।

यदि कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा दिउँसो ३ः१० बजेदेखि साँझ ५ बजेसम्मको समय दिइएको छ । यी सबै प्रक्रिया पूरा भएपछि साँझ ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ । अन्तिम नामावली प्रकाशनपछि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ । एमालेको ११औँ महाधिवेशन मंसिर २९ सम्म सञ्चालन हुने तय गरिएको छ । महाधिवेशनमा नेतृत्वका विभिन्न पदमा उम्मेदवारी दिन ठूलो संख्यामा नेताहरू अग्रसर देखिएका छन्, जसले पार्टीभित्रको राजनीतिक चासो र प्रतिष्पर्धा दुवैलाई थप तीव्र बनाएको छ ।

ओली र पोखरेल दुबै समूहले टुंगो लगायो पदाधिकारी उम्मेदवार, को–को परे ?

काठमाडौं । नेकपा एमालेको जारी एघारौँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय समितिका लागि अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल दुबै पक्षले उम्मेदवारको सूची लगभग टुंगो लगाएका छन् । महाधिवेशनका लागि अध्यक्ष पदमा ओली आफैं उम्मेदवार छन् । शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ ।

उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ । ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखे पनि उनको नाम टुंगो लागिसकेको छैन । अहिले ओली र ज्ञवालीबीच छलफल जारी छ । यसैगरी उपमहासचिव पदमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको स्रोतले बतायो । ९ सचिवमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको स्रोतले बतायो । पदाधिकारीमा आकांक्षी रहेका तर दुवै समूहमा नपरेका नेताहरुले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

यस्तै महाधिवेशनमा पदाधिकारी र केन्द्रीय समितिका लागि ईश्वर पोखरेल पक्षले पनि उम्मेदवारको सूची लगभग टुंगो लगाएको छ । आइतबार रातिदेखि सोमबार बिहानसम्म चलेको समूहको आन्तरिक छलफलपछि पदाधिकारीसहित केन्द्रीय समितिका ३०१ सदस्यका लागि उम्मेदवार तय गरिएको नेताहरूले बताएका छन् । यस समूहबाट अध्यक्ष पदमा ईश्वर पोखरेल आफैं प्रतिष्पर्धामा उत्रिने निश्चित भएको छ । महासचिव पदका लागि सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । उपाध्यक्ष पदमा बिन्दा पाण्डे, गोकर्ण विष्ट र परशु मेघी गुरुङ उम्मेदवार बन्ने भएका छन् भने उपमहासचिव पदका लागि योगेश भट्टराईको नाम पक्का भएको छ । उपमहासचिवकै सूचीमा बैजनाथ चौधरीको नाम पनि समावेश गरिएको बताइएको छ ।

सचिव पदमा भने बहुसंख्यक उम्मेदवार अघि सारिएको छ । यस पदका लागि कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, रचना खड्का र इन्द्रलाल सापकोटासहित ठाकुर गैरे र पुरुषोत्तम पौडेलको नाम समेत छलफलमा रहेको स्रोतले जनाएको छ । समूहले प्रारम्भिक रूपमा सचिव उम्मेदवारको सूची तयार गरे पनि अन्तिम क्षणसम्म केही नाममा सामान्य हेरफेर हुन सक्ने बताइएको छ । पोखरेल पक्षका नेताहरूका अनुसार पदाधिकारी मात्र होइन, केन्द्रीय समितिका सबै सदस्यका लागि समेत उम्मेदवारको सूची तयार भइसकेको छ । यद्यपि, महाधिवेशनको माहोल र थप राजनीतिक परामर्शका आधारमा केही पदमा उम्मेदवारको नाम तलमाथि हुन सक्ने संकेत पनि नेताहरूले गरेका छन् ।

मतदाता र भोटले पछ्याउने कांग्रेस बनाउनु पर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबैलाई समेटेर अघि बढ्न जरुरी रहेको बताएका छन् । सोमवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसलाई फेरि एक पटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताउँदै देशलाई द्वन्द्वबाट बाहिर निकाल्नु पर्ने आवश्यकता रहेको बताए । विगतमाझैं अहिले पनि त्यसको जिम्मेवारी कांग्रेसमाथि रहेको बताए ।

देशलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसमाथि आएको उल्लेख गर्दै महामन्त्री थापाले छाती फराकिलो बनाएर, शिर उच्च बनाएर गर्वका साथ भएका कमजोरी स्वीकार गर्दै समुदायबीचमा जानुपर्ने बताए । ठिक ढंगले काम गर्नसके निर्वाचन आफै जितिने उनको विश्वास छ । महामन्त्री थापाकाअनुसार राम्रो काम गर्न सके मतदाताहरु आफै पछ्याउँदै आउने र मत माग्न जानुपर्ने अवस्था नरहने बताए । नेपाली कांग्रेसलाई मतले पछ्याउन सक्ने बनाउनु पर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेसलाई फेरि एक पटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । हामीले हिजो देशलाई हिंसाबाट बाहिर निकाल्यौँ, देशलाई जातीय द्वन्द्वको सम्भावनाबाट बाहिर निकाल्यौँ । आज फेरि एक पटक नेपाललाई सम्हाल्ने कांग्रेसले जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । सबैलाई समेट्दै लैजाने जिम्मेवारी निर्वाह गर्नको लागि नेपाली कांग्रेसको प्रत्येक साथी अब छाती फराकिलो बनाएर, शिर उच्च बनाएर गर्वका साथ हामी कांग्रेस हौँ, केही गल्ती, कमजोरी भएको छ, त्यसलाई स्वीकार्छौं, सच्याउँछौँ भनेर समुदायको बीचमा जाने, नागरिकका बीचमा जाने काम ठिक ढंगले गरौँ। चुनाव आफै जितिन्छि । चुनाव चुनाव भन्नै पर्दैन, आफै आउँछ । मतदाताले आफै पछ्याउँदै आउँछ, भोटले आफै पछ्याउँदै आउँछ । हामी भोटलाई पछ्याउन गएर भोट आउँदैन । भोटले हामीलाई पछ्याउने बनाउन सक्नु पर्छ । मतले हामीलाई पछ्याउन सक्ने बनाउनु पर्छ ।’

महामन्त्री थापाले नेकपा एमालेप्रति लक्षित गर्दै भीडलाई उकास्ने, उचाल्ने चरित्र नेपाली कांग्रेसको नभएको पनि बताए । भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान हुने र कारबाही हुने बताए । नागरिकमा आक्रोश र असन्तुष्टि रहेको भन्दै त्यसलाई शान्त पार्ने जिम्मेवारी कांग्रेसको भएको बताए ।

एमाले महाधिवेशन : कसरी भइरहेको छ नेतृत्व पुस्तान्तरण ?

पार्टीका लागि चुनौतिपूर्ण समयमा एमाले ११औं महाधिवेशनमा होमिँदै गर्दा उठेका विभिन्न मुद्धामध्ये एउटा प्रमुख मुद्धा थियो-नेतृत्वको पुस्तान्तरण । पार्टी अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेपछि यो मुद्धा अस्वीकृत भएको ठानिएको छ । तर, अध्यक्षलाई मात्रै नहेरेर पार्टी पदाधिकारी हेर्ने हो भने कम्युनिष्ट आन्दोलनको तेस्रो र चौथो पुस्ताको वर्चश्व बढ्दै गएको देखिन्छ । २० को दशकबाट पार्टी नेतृत्वमा होमिएको कम्युनिष्ट आन्दोलनको दोस्रो पुस्ता बिदा हुँदै गएको छ। अहिले खासगरी पञ्चायतकालको पछिल्लो कालखण्डमा विद्यार्थी राजनीतिमा होमिएको पुस्ताको वर्चश्व बढिरहेको छ भने यसपछि विद्यार्थी राजनीतिमा जोडिएको चौथो पुस्ता पनि पदाधिकारीमा दाबी गर्ने अवस्थामा पुगेको छ ।

केही वर्षअघिको एमाले नेतृत्व हेर्ने हो भने त्यहाँ पाका नेताहरूको वर्चश्व देखिन्थ्यो । २० को दशकमा भएको झापा आन्दोलन र यसकै आसपासबाट राजनीतिमा होमिएको पुस्ताले एमालेको सिंगो नेतृत्व तहमा कब्जा जमाएको थियो । झापा आन्दोलनबाट उदाएका प्रभावशाली नेता सीपी र राधाकृष्ण मैनाली ५० को दशकबाट नै पार्टी नेतृत्वबाट बाहिरिँदै गएका थिए भने अशोक राईले २०६९मा एमाले छोडेका थिए । तर, अहिले ७० नाघिसकेका झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, अष्टलक्ष्मी शाक्य,  युवराज ज्ञवाली,  लगायतले भरिएको पदाधिकारीको टिम देख्न सकिन्थ्यो । अधिकांश नेताहरू २० को दशकमा छिन्नभिन्न भएका विभिन्न कम्युनिष्ट घटकबाट कोअर्डिनेसन केन्द्र र पञ्चायतकालीन माले हुँदै एमालेको नेतृत्वमा आइपुगेका थिए ।

बाम राजनीतिका यी हस्तीहरूलाई चुनौति दिएर नयाँ अनुहारलाई नेतृत्व पंक्तिमा छिर्नै मुस्किल थियो । आठौं महाधिवेशन अघिसम्म महासचिव प्रणालीमा रहेका कारण नेतृत्वका रुपमा विकास हुँदै जाने बाटो पनि अवरूद्ध थियो । पार्टीभित्र एकल नेतृत्वको आलोचना गर्दै अहिलेका अध्यक्ष केपी शर्मा ओलीले ५०को दशकको सुरूवातबाटै पार्टीको लोकतान्त्रिकरणको मुद्धा उठाइरहेका थिए । उनकै प्रस्तावअनुसार २०६५ फागुनमा बुटवलमा भएको आठौं महाधिवेशनले बहुपदीय प्रणाली स्वीकार गर्‍यो । यसको अर्थ महासचिवको एकल नेतृत्वलाई अन्त्य गर्दै सामूहिक नेतृत्व स्थापित गर्नु थियो । एमालेमा पहिलो पटक महाधिवेशन प्रतिनिधिरूले नेतृत्व चयनका लागि प्रत्यक्ष मतदान गरेको यो महाधिवेशनमा ओलीको नीति पास भए पनि नेतृत्व भने रहन सकेन । अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा उनलाई झलनाथ खनालले पराजित गरेका थिए । खनाल २०३९ सालदेखि ४५ सालसम्म तत्कालीन मालेको महासचिव भइसकेका व्यक्ति थिए । महासचिवमा खनालकै पक्षमा रहेका ईश्वर पोखरेलले प्रदीप नेपाललाई पराजित गरेका थिए । वर्तमान महासचिव शंकर पोखरेल यही महाधिवेशनबाट सचिव बनेका थिए ।

ओलीले निरन्तर उठाएको पार्टीको लोकतान्त्रिकरण अन्तर्गत बहुपदीय प्रणाली र प्रतिनिधिको प्रत्यक्ष मतदानको अधिकारले नै उनलाई पार्टीको नेतृत्वमा पुर्‍यायो । २०७१ असारमा काठमाडौंमा भएको नवौं महाधिवेशनमा २०५० सालदेखि आठौं महाधिवेशनसम्म लगातार १५ वर्ष नेतृत्व गरेका माधवकुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्ष बनेका थिए । पार्टी पदाधिकारीमा युवा नेता शंकर पोखरेलले पराजय भोगे पनि घनश्याम भूसाल, विष्णु पौडेल, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, योगेश भट्टराई लगायत देखा परे । यसपछिको एमाले-माओवादी एकिकरण र फेरि विभाजन, संसद विघटनको विषयमा विवाद जस्ता नाटकिय घटनाक्रम भए, जसले पार्टीमा उथलपुथल सिर्जना गर्‍यो । अध्यक्ष ओलीसँग मतान्तर बढ्दै गएपछि बामदेव गौतमले पार्टी छोडे । माधव नेपाल र झलनाथ खनालले पार्टी विभाजन गर्दै नेकपा एस गठन गरे ।

चितवनमा भएको दशौं महाधिवेशनबाट ओली अध्यक्षमा दोहोरिए पनि पदाधिकारीमा तेस्रो पुस्ताका नेताहरूको व्यापक उपस्थिति रह्यो । उपाध्यक्ष पद दोस्रो पुस्ताका नेताहरूलाई छोडे पनि महासचिव, उपमहासचिव र सचिव जस्ता पदमा तेस्रो पुस्ताका नेताहरूको उल्लेख्य हस्तक्षेप रह्यो । शंकर पोखरेल महासचिव बन्दा प्रदीप ज्ञवाली, विष्णु रिमाल, पृथ्वीसुब्बा गुरूङ उपमहासचिव बने। योगेश भट्टराई र गोकर्ण विष्टजस्ता नेताहरू सचिव बने । नेतृत्व तहमा तेस्रो पुस्ताका नेताहरूको हस्तक्षेप बढ्दै जाँदा दोस्रो पुस्ताका कतिपय नेताहरूले स्वेच्छिक रुपमा बिदाइ पनि लिइरहेका छन् ।एमालेको ११औं महाधिवशेन यसअर्थमा पनि महत्वपूर्ण बनेको छ । वर्तमान उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले कुनै पनि पदमा उम्मेद्वारी नदिने घोषणा गर्दै आफूभन्दा पछिको पुस्ताका लागि ठाउँ खाली गरिदिएका छन् । नेता केशव बडालले पनि सक्रिय राजनीति छोडेको घोषणा गरे ।

अहिले पदाधिकारीमा दाबी गरिरहेका अधिकांश नेताहरू विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट आएका हुन् । नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो र दोस्रो पुस्ताले भूमिगत रूपमा पञ्चायविरूद्ध संघर्ष हाँकिरहँदा उनीहरू विद्यार्थीको मोर्चाबाट संघर्ष गरिरहेका थिए । वर्तमान महासचिव शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष तथा त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापति हुँदै एमालेमा स्थापित भएका हुन् भने योगेश भट्टराई पनि अनेरास्ववियुको अध्यक्ष भएका नेता हुन् । यस्तै गोकर्ण विष्ट पञ्चायतकालको अन्तिम समयमा पार्टीमा आबद्ध भएका नेता हुन् ।  अहिले पदाधिकारीमा रहेका बाहेक युवा संघको नेतृत्व गरेर आएका महेश बस्नेत तथा अनेरास्ववियुबाट केही समयवर्षअघि मात्रै बिदा भएका महेश बर्तौला, सुनिता बराल, नवीना लामा, रचना खड्कालगायतका युवाहरूमध्ये केही अब नेतृत्व पंक्तिमा देखिन सक्छन् । अर्थात्, अब नेपाली कम्युनिष्ट आन्दोनलको चौथो पुस्ताले पनि पार्टीको नेतृत्वमा सहभागीता खोज्ने छ ।

सुस्त भए पनि एमालेमा नेतृत्व पुस्तान्तरणको यो बाटो ओलीले अघि सारेको पार्टीको लोकतान्त्रिकरणको नीति अन्तर्गतको बहुपदीय संरचना र प्रतिनिधिको मतद्वारा प्रत्यक्ष रुपमा नेतृत्व छनोटका कारणले नै भइरहेको हो । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन मात्रै होइन, नेपाली समाजको लोकतान्त्रिकरणका लागि पनि एमालेले ११औं महाधिवेशनबाट यो अभ्यासलाई थप मजबुत बनाउन आवश्यक छ । नेतृत्वको शृङ्खलाबद्ध पुस्तान्तरणले अहिले देखिएको अन्तरपुस्ता संवादको कमीलाई पनि पुर्ति गर्दै जानसक्ने छ । अध्यक्षमा जो आए पनि पार्टीभित्रको लोकतान्त्रिक अभ्यास बलियो भए यसले पार्टीलाई नयाँ पुस्तासँग जोड्ने र उनीहरूको भावनालाई आत्मसात गर्ने दिशामा अघि बढाउँछ ।

रचनाले दिइन् अन्तर्राष्ट्रिय क्रिकेट ‘कमेन्टेटर’ ‘टक्लु दाइ’ लाई दौरा–सुरुवाल उपहार

काठमाडौं । नेपाली क्रिकेटप्रतिको निःस्वार्थ माया र निरन्तर समर्थनको सम्मान स्वरूप गायिका रचना रिमालले अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टेटर एन्ड्रयू लियोनार्डलाई विशेष उपहार प्रदान गरेकी छन् । एनपीएल फाइनलका अवसरमा रचनाले एन्ड्रयूलाई नेपाली पहिचान झल्किने कोट तथा दौरा–सुरुवाल उपहार दिँदै नेपालप्रतिको उनको प्रेमप्रति धन्यवाद व्यक्त गरेकी हुन् ।

एन्ड्रयू लियोनार्ड, जसलाई नेपाली क्रिकेटप्रेमीहरूले ‘टक्लु दाइ’ भनेर स्नेहपूर्वक चिन्ने गर्छन्, लामो समयदेखि नेपाली क्रिकेटका खेलहरूमा अङ्ग्रेजी कमेन्ट्री गर्दै आएका छन् । उनको ऊर्जाशील प्रस्तुति, भावनात्मक शब्द चयन र नेपालप्रतिको आत्मीयताले उनलाई नेपाली दर्शकमाझ अत्यन्त लोकप्रिय बनाएको छ । एनपीएल सिजन २ मा पनि उनको कमेन्ट्रीले फ्यानहरूको मन जित्न सफल भएको देखिन्छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत रचना रिमालले एन्ड्रयू लियोनार्डसँगको भेटका तस्वीरहरू साझा गर्दै भावुक शब्दमा आफ्नो धारणा व्यक्त गरेकी छन् । उनले नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो रूपमा अघि बढिरहेको वर्तमान समयमा विश्व क्रिकेटकै नजर नेपालतर्फ केन्द्रित भइरहेको अनुभूति भएको उल्लेख गरेकी छन् । यस्तो महत्वपूर्ण घडीमा एन्ड्रयू जस्ता एक सशक्त समर्थक, कुशल कमेन्टेटर र बुलन्द आवाज नेपालका लागि अनुपम साथ भएको उनको भनाइ छ ।

रचनाले एन्ड्रयूका शब्दहरूले नेपाली क्रिकेटको आत्मा बोल्ने, उनको प्रशंसाले विश्वभर नेपाली क्रिकेटप्रति आकर्षण बढाउने र उनको ऊर्जाले खेलाडीदेखि समर्थक तथा आम जनमानससम्म नयाँ उत्साह जगाउने उल्लेख गरेकी छन् । विदेशी भए पनि नेपाललाई आफ्नै देश जस्तै माया गर्ने उनको स्वभाव सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको उनले बताएकी छन् ।

एन्ड्रयूलाई प्रत्यक्ष भेटेर धन्यवाद व्यक्त गर्न पाउनु आफ्नो जीवनको एक महत्वपूर्ण क्षण भएको उल्लेख गर्दै रचनाले नेपालले आज पाउँदै आएको सम्मान, पहिचान र अन्तर्राष्ट्रिय समर्थनमा उनको योगदान अतुलनीय रहेको बताएकी छन् । नेपाली क्रिकेटप्रतिको उनको प्रेम, ऊर्जा र सकारात्मक सोचले नेपालीहरूलाई अझ ठूलो सपना देख्न प्रेरित गरिरहेको भन्दै उनले आभार व्यक्त गरेकी छन् । नेपाली क्रिकेटको यात्रामा आवाज बनेर निरन्तर साथ दिँदै आएका एन्ड्रयू लियोनार्डप्रतिको यो सम्मानले नेपाली खेलकुद र संस्कृतिप्रतिको आपसी सद्भाव र कृतज्ञताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ ।

सिकार खेल्न हिँड्दा लडेर बन्दुक पड्किँदा आफ्नै साथीको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुई जनामध्ये अघिल्लो साथीलाई ठेस लागेर लड्दा पछाडिको साथीको गोली लागेर मृत्यु भएको छ । राक्सिराङ–८ राजराङका ४५ वर्षीय गोपाल ब्लोन जंगलमा हिँडिरहँदा लहरामा अल्झेर लड्दा पछाडि सँगै हिँडिरहेका मनहरी–६, बालुभञ्ज्याङका ५० वर्षीय सेते थिङको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, दुवैले भरुवा बन्दुक बोकेका थिए र ब्लोन लड्दा उनको बन्दुक पड्किएर पछाडि रहेका थिङको मृत्यु भएको हो । ब्लोनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय मनहरीमा ल्याएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दीपक थापाले बताए । घटना आइतबार दिँउसोको हो ।

ओलीको उम्मेदवार सूची ‘फाइनल’, पोखरेल पक्षकाे पनि सबै पदमा ‘टक्कर’ दिने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन निर्णायक मोडमा पुगेसँगै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह खुलेर आमने–सामने भएका छन् । पुस १ गते हुने निर्वाचनका लागि तालिका सार्वजनिक भएसँगै दुवै समूहले पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको सूची लगभग टुंग्याएका छन् ।

अध्यक्ष ओलीले आफ्नो प्यानलका उम्मेदवारको सूची तयार पारिसकेको एमाले नेताहरूको दाबी छ । आकांक्षी नेताहरूको विवरण संकलन गर्न विश्वासपात्र नेतालाई जिम्मा दिएका ओलीले आइतबार बेलुका अन्तिम सूचीमा सहमति जुटाएको बताइन्छ । समन्वय संयन्त्रले उम्मेदवारी दिन चाहने र नचाहने नेताहरूको नामावली बनाएर शनिबार राति नै ओलीलाई बुझाइसकेको थियो ।

आफ्नो समूहका नेताहरू व्यवस्थापन गर्न सहज बनाउन ओलीले विधान नै संशोधन गराएका छन् । विधान महाधिवेशनले घटाएर १५ बनाएको पदाधिकारी संख्या फेरि बढाएर १९ पु¥याइएको छ भने केन्द्रीय समिति २५१ बाट ३०१ सदस्यीय बनाइएको छ । सचिवालयमा विरोध भए पनि ओलीले केन्द्रीय कमिटी बैठकमार्फत बहुमत प्रयोग गरी यो प्रस्ताव पास गराएका थिए । यही निर्णयपछि उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका थिए भने वरिष्ठ उपाध्यक्ष पोखरेलले विधान संशोधन अस्वीकार गर्दै अध्यक्षमा उम्मेदवारी दिने संकेत दिएका थिए ।

ओली पक्षका अनुसार महत्वपूर्ण पदमा हालका पदाधिकारीहरूलाई दोहोर्‍याउने रणनीति लिइएको छ । तीन उपाध्यक्ष र महासचिव दोहोरिने लगभग निश्चित भएको बताइन्छ । महासचिवका आकांक्षी दुई नेतालाई उपाध्यक्षमा व्यवस्थापन गर्ने र सचिवमध्येबाट उपमहासचिव बनाउने योजना छ । भक्तपुरको गुन्डुस्थित ओली निवासमा जारी छलफलमा उपाध्यक्षमध्ये विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल र पृथ्वीसुब्बा गुरुङको नाम लगभग फाइनल भइसकेको स्रोतले जनाएको छ ।

बाँकी एक उपाध्यक्षमा प्रदीप ज्ञवाली वा शंकर पोखरेलमध्ये एकलाई अघि सार्ने तयारी छ । महासचिवमा ओलीको प्राथमिकता शंकर पोखरेल देखिएका छन् । उपमहासचिवमा रघुवीर महासेठ, विष्णु रिमाल र पद्मा अर्यालको नाम अगाडि आएको छ । सचिव संख्या ९ पुर्‍याइएपछि प्रदेशगत सन्तुलन मिलाउने प्रयास भएको छ । कोशीबाट शेरधन राई र भानुभक्त ढकाल, मधेसबाट ज्वालाकुमारी साह, बागमतीबाट महेश बस्नेत, गण्डकीबाट खगराज अधिकारी, लुम्बिनीबाट छविलाल विश्वकर्मा, कर्णालीबाट यमलाल कँडेल र सुदूरपश्चिमबाट लेखराज भट्ट सचिव बन्ने सम्भावना बलियो देखिएको छ ।

उता पोखरेल समूहले पनि अब सबै पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । सुरुवातमा ओलीको सूची हेरेर रणनीति बनाउने सोचमा रहेको यो समूह अब एकै पटक मनोनयनमा जाने तयारीमा छ । थापागाउँस्थित कार्यालयमा छलफलमा जुटेको पोखरेल पक्षमा महासचिवका लागि सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ भने गोकर्ण विष्टलाई उपाध्यक्षमा अघि सार्ने लगभग तय भएको छ ।

योगेश भट्टराई उपमहासचिव उठ्ने पक्का भएको छ । सचिवतर्फ गोकुल बाँस्कोटा, ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल र विन्दा पाण्डे आकांक्षी छन् । पदाधिकारी संख्या बढेपछि पोखरेल समूहलाई उम्मेदवार व्यवस्थापन सहज भएको बताइन्छ । यही अवसर प्रयोग गर्दै ओली पक्षका असन्तुष्ट नेतालाई आफूतिर तान्ने रणनीति पनि यो समूहले लिएको छ । केही नेताहरू चाँडै खुल्ने सम्भावना रहेको पोखरेल पक्षको दाबी छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगले सोमबार बिहान ९ बजेदेखि उम्मेदवारी फाराम वितरण र दिउँसो १ः३० बजेसम्म दर्ताको समय तोकेको छ । अन्तिम नामावली बेलुका ६ बजे सार्वजनिक हुनेछ । प्रक्रियागत रूपमा दुवै समूह उम्मेदवारी दर्तातर्फ अघि बढ्दै गर्दा एमाले महाधिवेशन अब स्पष्ट रूपमा ओली र पोखरेलबीचको प्रतिस्पर्धामा रूपान्तरण भएको छ ।

एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन

काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं राष्ट्रिय महाधिवेशन अब नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ । भक्तपुरको सल्लाघारीमा शनिबार भव्य उद्घाटनसँगै सुरु भएको महाधिवेशनको बन्द सत्र आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी छ ।

निर्वाचन प्रक्रियाअन्तर्गत आज (सोमबार) उम्मेदवारी दर्ता लगायतका मुख्य कार्यक्रमहरू हुँदैछन् । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले सार्वजनिक गरेको कार्यतालिका अनुसार, नेतृत्वका लागि आकांक्षी उम्मेदवारहरूले आज बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्म आफ्नो दरखास्त फाराम दर्ता गराउन सक्ने छन् ।

यस्तो छ आजको चुनावी कार्यतालिका
निर्वाचन आयोगले आजको दिनलाई उम्मेदवारी मनोनयन र अन्तिम नामावली प्रकाशनका लागि छुट्याएको छ । बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन भएसँगै चुनावी प्रक्रियाले गति लिनेछ । दिउँसो साढे १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने २ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ ।

आयोगका अनुसार, उम्मेदवारको विरोधमा उजुरी दिन चाहनेका लागि दिउँसो २ः३० देखि ३ः०० बजेसम्मको समय निर्धारण गरिएको छ । दाबी विरोध र फिर्ताको प्रक्रिया सकिएपछि आजै साँझ ६ः०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

भोलि मतदान
महाधिवेशनको मुख्य आकर्षण मानिएको नेतृत्व चयनको मतदान प्रक्रिया भने भोलि (मंगलबार) हुनेछ । निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूले भोलि बन्ने नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

युट्युबमा आयो बालेनको र्‍याप ‘आम नेपाली बुवा’को भिडियो

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका र्‍यापर बालेन शाहको र्‍याप ‘आम नेपाली बुवा’को नयाँ भिडियोसहित सार्वजनिक भएको छ। चलचित्र झरीपछिको इन्द्रेणीका लागि तयार पारिएको भिडियो आज युट्युबमा सार्वजनिक भएको हो ।

यो र्‍यापमा एक जना इमान्दार सरकारी कर्मचारीले परिवारमा भोग्ने समस्या देखाइएको छ ।

लक्ष्मीप्रसाद देवकोटाको कविता ‘यात्री’ कविताको केही हरफ गीतका र्‍यापको कोरसको रुपमा प्रयोग गरिएको छ । देवकोटाको यात्री कविता रविन शर्माको स्वरमा रेकर्ड भएको थियो । यो र्यापको कोरसका लागि भने दिक्षा उप्रेतीले स्वर दिएकी छिन् ।

सिंहदरबार वैद्यखानाका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका बालेनका बुवा डा.रामनारायण शाहको निधन भएको दुई सातापछि ‘आम नेपाली बुवा’को भिडियो दर्शकहरूमाझ आएको हो । यो र्यापको रेकर्डिङ र छायांकन भने केही समय पहिले नै भइसकेको थियो ।

चलचित्र झरीपछिको इन्द्रेणीको प्रदर्शन पुष ४ गतेबाट सुरू हुनेछ ।

काठमाडौं महानगरले गर्‍यो २३५ बाजागुरूलाई नगदसहित सम्मान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुहरुलाई जनही नगद ३० हजार रुपियाँसहित सम्मान गरेको छ । ३१ औँ महानगर दिवस २०८२ का अवसरमा आज राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, समितिका सदस्यहरु, कार्यपालिकाअन्तर्गतका समितिका संयोजक लगायतको उपस्थितिमा सम्मान गरिएको हो।

सम्मानित हुने गृरुहरुमा ज्यापु महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस भएका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरु र ५२ जना दाफा खिं गुरु रहेका छन् । यस्तै,  गुंलाबाजं व्यवस्थापन व संरक्षण संघबाट सिफारिस भएका २६ टोलका एकएक जना गुरु, नेपाल खड्गी सेवा समितिबाट सिफारिस भएका ६९ टोलका एक एक जना नायःखिं बाजं गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट १४ टोलबाट शिफारिस भएका १४ जना गुरु रहेका छन् । केन्द्रीय मानन्धर संघबाट सिफारिस भएका ४ टोलका ४ जना र विभिन्न संघसंस्थाहरुबाट सिफारिस भएका ७ जना बाजा गुरुलाई पनि सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले स्वःस्फूर्त परम्परागत बादन संस्कृति जोगाउन योगदान गर्ने बाजा गुरुहरुले प्रदान गरेको जीवन्तता कायम राख्न महानगरपालिका प्रतिबद्ध रहेको बताइन् । ‘परम्पराको संरक्षण र प्रवर्धन अहिले नै आँखाले देखेजस्तो दृश्यात्मक हुँदैन तर अमूल्य हुन्छ,’ उपप्रमुख डंगोलले भनिन्, ‘पछिल्लो समयका प्रशिक्षण र सांस्कृतिक क्रियाकलापहरुमा युवाहरुको आकर्षण बढ्नुले संस्कार पुस्तान्तरण हुने वातावरण बनेको छ ।’

कार्यक्रममा बोल्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले बाजा गुरुहरुको सम्मानबाट अमूर्त सम्पदाको संरक्षणमा योगदान हुने अपेक्षा रहेको बताए । ‘बादन संस्कारले मूर्त सम्पदा क्षेत्रलाई जीवन्तता दिएका छन्, बाजा गुरुहरुकै कारण बादन संस्कार जोगिएको हो,’ संगतको भनाई छ, ‘यो परम्परा बचाइ राख्न महानगरपालिका र समुदायका बिच दिगो सम्बन्ध रहने हामीले अपेक्षा गरेका छौँ ।’  बाजा गुरुहरुको यो त्यागमाथि चर्चा गर्दै समितिका सदस्य तथा वडा नम्बर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भने, ‘सम्मान कार्यक्रम एक दिन हुन्छ तर महानगरपालिका गुरुहरुप्रति हरेक दिन अनुग्रहित छ ।’

कार्यक्रममा ज्यापू महागुथि नेपाः, येँ महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जन, नेपाल खड्गी सेवा समितिका अध्यक्ष रञ्जिता खड्गी, गुंलाबाजं व्यवस्थापन व संरक्षण समितिका अध्यक्ष अमिरमान शाक्यसहित वक्ताले, महानगरपालिकाले गुरुहरुलाई सम्मान गरेपछि सरकारबाट संरक्षण पाएको अनुभूति भएको धारणा राखेका थिए । बाजागाजा उपलब्ध गराउने, बजाउने तरिका सिक्ने तथा धार्मिक सामाजिक कार्यमा बादन गर्ने कामका लागि महानगरपालिकाको अझ सशक्त अभिभावकत्वको अपेक्षा गर्दै उनीहरुले अहिले थालिएका कार्यक्रमको प्रशंशा गरेका छन्।

१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ । दिवसका अवसरमा आज प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । यसैगरी नारायण चौरमा रैथाने मौलिक खाद्य स्वच्छता मेला आयोजना गरिएको छ ।

सन्दीप लामिछाने बीपीएलमा राजशाही वारियर्ससँग अनुबन्धित

काठमाडौँ। नेपालका स्टार लेग–स्पिनर सन्दीप लामिछाने सन् २०२६ को सिजनका लागि बंगलादेश प्रिमियर लिग (बीपीएल) टोली राजशाही वारियर्ससँग अनुबन्धित भएका छन्।

राजशाही वारियर्सले आइतबार सामाजिक सञ्जालमार्फत नयाँ सिजनका लागि लामिछानेलाई अनुबन्ध गरेको पुष्टि गरेको हो।

टोलीले आफ्नो पोस्टमा लेखेको छ,‘हिमालयन म्याजिक सन्दीप लामिछाने, नेपाल-स्वागत छ। तपाईं खेल हेरिरहनु मात्र होइन, यो लडाइँको हिस्सा हुनुहुन्छ। राजशाही वारियर्सलाई पछ्याउनुहोस् र सँगै गौरवको खोजी गरौँ।’

लामिछाने बीपीएल ड्राफ्टका लागि दर्ता भएका पाँच नेपाली खेलाडीमध्ये एक थिए। उनीसँगै दीपेन्द्र सिंह ऐरीलगायतले नाम दर्ता गरेका थिए। अक्सनमा लामिछाने नबिके पनि राजशाही वारियर्सले पछि ड्राफ्टबाहिरबाट उनलाई अनुबन्ध गरेको हो। यसअघि सन् २०१९ मा लामिछानेले बीपीएलकै सिलेट टाइटन्सबाट खेलेका थिए ।

लामिछाने नेपालका सबैभन्दा धेरै अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्ने क्रिकेटरमध्ये एक हुन्। उनले इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स, अष्ट्रेलियाको बिग ब्यास लिगमा मेलबर्न स्टार्स र होबार्ट हरिकेन्स, क्यारेबियन प्रिमियर लिगमा जमैका टालावाह्स, सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्स, ग्लोबल टी-२० क्यानडामा मोन्ट्रियल टाइगर्स र भ्यानकुभर नाइट्स, तथा पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सका लागि खेलिसकेका छन्।

उनले आईपीएलसहित क्यारिबियन प्रिमियर लिग सीपीएल, बिग ब्यास लिग बीबीएल र क्यानडाको ग्लोबल टी–२० लिग जस्ता प्रमुख प्रतियोगिताहरूमा सहभागिता जनाइसकेका छन् ।

बंगलादेशका प्रशंसकहरूले लामिछानेलाई पछिल्लो पटक २०२४ को आईसीसी टी–२० विश्वकपमा नजिकबाट हेरेका थिए, जहाँ नेपालले समूह चरणमा बंगलादेशको सामना गरेको थियो । त्यस खेलपछि लामिछाने बंगलादेशी कप्तान नजमुल हुसेन शान्तोसँग लामो कुराकानीमा देखिएका थिए । उनै शान्तोले आगामी बीपीएल सिजनमा राजशाही वारियर्सको नेतृत्व गर्नेछन् र अब यी दुई टोली साथी बन्नेछन् ।

बंगलादेश प्रिमियर लिगको नयाँ सिजन डिसेम्बर २६ मा सुरु हुँदै छ ।

सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनको मिति फागुन २१ बाट दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएका हुन् । आगामी चुनावलाई प्रभावित नहुने गरी काम गर्न पनि उनले सुझाए ।

राष्ट्रपति पौडेलले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष सुशील कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरिन् ।
राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरूसमेत आँकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास जनाए ।

बन्द सत्रमा ईश्वर पोखरेलको फरक धारणा : पार्टी विधि र सामूहिक नेतृत्वतर्फ फर्किनु पर्छ

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको भावी दिशा र कार्यशैलीबारे स्पष्ट र फरक धारणा प्रस्तुत गरेका छन् । अपराह्न ३ बजेपछि सुरु भएको बन्द सत्रमा प्रारम्भमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि पोखरेलले अध्यक्षको अनुमति लिएर आफ्नो विचार राखेका हुन् ।

पोखरेलले बन्द सत्रमा छुट्टै अवधारणा पत्र प्रस्तुत गर्दै पार्टीभित्र अहिले विचार र नेतृत्वभन्दा पनि कार्यशैली नै मुख्य समस्या बनेको टिप्पणी गरे । यही अवस्था निरन्तर रहेमा पार्टी कुनै पनि बेला दुर्घटनाग्रस्त हुन सक्ने चिन्ता सबैमा रहेको भन्दै उनले समयमै आत्मसमीक्षा र सुधार आवश्यक रहेको बताए । पार्टीलाई विधि, पद्धति र सामूहिक नेतृत्वको प्रणालीमा सञ्चालन गर्नुपर्ने आफ्नो मान्यता रहेको पोखरेलको जोड थियो । उनले देश र पार्टी दुवै भूराजनीतिक दबाबको बोझमा परेको उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा पार्टीभित्र लोकतान्त्रिक अभ्यास सुदृढ गर्नु अपरिहार्य भएको बताए।

यसै क्रममा उनले अध्यक्ष ओलीले विगतमा अघि सारेको ‘पार्टी जीवनको लोकतान्त्रिकरण’ सम्बन्धी प्रस्ताव र प्रयासलाई स्मरण गराउँदै आफू त्यही मान्यतामा उभिएको र त्यसको प्रशंसक रहेको बताए । ओलीले अघि सारेका ती अवधारणालाई व्यवहारमा उतार्न अझै ठाउँ रहेको संकेत गर्दै नेतृत्वले त्यसका लागि उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा उनले राखे । पोखरेलले विगतमा माओवादीसँग गरिएको पार्टी एकताको प्रक्रिया विधिसम्मत र सन्तुलित नभएकै कारण असफल भएको अनुभव पनि सुनाए । त्यस्तै, नेकपा एमालेको स्थापनादेखि हालसम्म भएका महाधिवेशनहरूको आयोजना प्रक्रियासँग आफू संयोगवश निरन्तर जोडिँदै आएको उल्लेख गर्दै उनले पार्टीको संगठनात्मक यात्रा र उतारचढावलाई नजिकबाट देख्ने अवसर पाएको बताए ।

गत शुक्रबार बसेको सचिवालय बैठकले पोखरेललाई बन्द सत्रमा आफ्नो पालोमा अवधारणा पत्र प्रस्तुत गर्न दिने सहमति गरेको थियो । सोही अनुसार उनले केही दिनअघि नै पार्टी केन्द्रीय कार्यालय पुगेर महासचिव शंकर पोखरेललाई अवधारणा पत्र बुझाएका थिए । आफूले उठाएका विषयहरू बन्द सत्रमा प्रस्तुत गरिने पार्टीका आधिकारिक दस्तावेजमा समावेश हुनुपर्ने उनको आग्रह रहेको बुझिएको छ ।पोखरेलको सम्बोधनलाई महाधिवेशनमा नेतृत्व, कार्यशैली र आन्तरिक लोकतन्त्रबारे गम्भीर बहसतर्फ लैजाने प्रयासका रूपमा हेरिएको छ । बन्द सत्रमा उनका विचारहरूले कस्तो प्रभाव पार्छन् र पार्टीको आगामी निर्णयमा कति समेटिन्छन् भन्ने चासोका साथ प्रतिनिधिहरूले हेरिरहेका छन् ।

‘विद्या भण्डारीलाई आफ्नो घरमा आउन नदिनु गलत’
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व राष्ट्रपति एवं पार्टी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई आउन नदिनु गलत भएको बताएका छन् । जारी बन्द सत्रमा आफ्नो धारणा राख्दै पोखरेलले भने, ‘केन्द्रीय उपाध्यक्ष भइसकेको व्यक्ति र आउँछु भनेपछि आउन पाउँदैनौं भन्नु कति विवेक सम्वत् ? विल्कुल त्यो गलत हो त्यसरी भनिनु हुँदैन । नआउनुस् भन्न सकिन्छ, आउन उचित हुँदैन भन्न सकिन्छ । तर, आउँछु मेरो घर हो । म जहाँ जन्मिएँ, हुर्किएँ त्यही ठाउँमा मेरो अन्तिम जीवन बिताउँछु भन्दा इस्यू थिएन नन् इस्यूलाई इस्यू बनाइयो । यो गरिनु उचित थिएन ।’

एमालेले कसरी चुन्छ ३०१ सदस्यीय केन्द्रीय समिति ?

काठमाडौं । नेकपा (एमाले) ले एघारौं महाधिवेशनमार्फत ३०१ सदस्यीय केन्द्रीय समिति चयन गर्ने स्पष्ट खाका तय गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी बन्द सत्रले केन्द्रीय समिति गठनका लागि क्लस्टरगत संरचना पारित गरेसँगै नेतृत्व चयनको आधार औपचारिक रूपमा टुंगिएको हो ।

बन्द सत्रमा प्रस्तुत प्रस्तावअनुसार एमालेले समावेशिता र पुस्तान्तरणलाई मुख्य प्राथमिकतामा राखेको देखिन्छ । पार्टीले सबै क्लस्टरमा ४० वर्षमुनिका युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ । भौगोलिक आधारमा राजधानी उपत्यकासहित सात प्रदेश गरी आठ प्रदेशबाट कम्तीमा एक–एक जना ४० वर्षमुनिका युवा केन्द्रीय सदस्य चयन गरिनेछ ।

क्लस्टर संरचनाअनुसार खुला प्रतिष्पर्धाबाट ६ जना र महिलाबाट ३ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरिएको छ । महिलाको प्रतिनिधित्वलाई बलियो बनाउँदै कुल ७३ जना महिला केन्द्रीय सदस्य रहने प्रस्ताव पारित भएको छ । तीमध्ये ५२ जना खुला प्रतिस्पर्धाबाट, जनजाति महिलाबाट २ जना र ४० वर्षमुनिका युवतीबाट १७ जना केन्द्रीय समितिमा आउने छन् । मधेश क्लस्टरअन्तर्गत युवाबाट २ जना, खुलाबाट ८ जना र महिलाबाट ४ जना केन्द्रीय सदस्य चयन गरिनेछ । दलित क्लस्टरमा पनि समावेशितालाई ध्यान दिँदै युवाबाट १ जना, खुलाबाट ८ जना र महिलाबाट ४ जना चयन गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, प्रवासमा रहेका पार्टी कार्यकर्तालाई पनि केन्द्रीय समितिमा प्रतिनिधित्व दिइनेछ । भारतबाट १ जना र अन्य देशबाट १ जना केन्द्रीय सदस्य आउने व्यवस्था प्रस्तावमा समेटिएको छ । अपाङ्गता भएका व्यक्तिबाट समेत १ जना केन्द्रीय सदस्य चयन गरिनेछ । महाधिवेशनको बन्द सत्रमा महासचिव शंकर पोखरेलले पेश गरेको प्रस्तावले एमालेभित्र युवा सहभागिता, महिला प्रतिनिधित्व र विविध समुदायको समावेशितालाई संस्थागत गर्ने लक्ष्य राखेको नेताहरूको भनाइ छ । पारित संरचनाअनुसार अब केन्द्रीय समिति चयनको प्रक्रिया अघि बढ्ने छ, जसले आगामी दिनमा पार्टीको नेतृत्व संरचना कस्तो हुने भन्ने संकेत गरेको छ ।

 

सिंहदरबारको पश्चिम गेटमा जेन-जी घाइतेको धर्ना (तस्बिरहरू)

काठमाडौं। विभिन्न माग राखी अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरबार जाँदा, प्रवेश पास नपाएपछि जेन-जी घाइतेहरू धर्ना बसेका छन् ।

आइतबार ९ बजेबाट कुरी बसेका जेन-जी घाइते सिंहदरबारमा प्रवेश गर्न नपाएपछि पश्चिम गेटमा धर्ना बसेका हुन् ।

उनीहरूले रिलायन्स स्पीनिग मिल्सको वैदेशिक रोजगारमा रहेकाहरूलाई निष्कासित प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँड रोक्का गरी, नेपाल धितो पत्र बोर्डमा व्याप्त भ्रष्टाचारलाई छानबिन गर्न माग गर्दै धर्ना बसिरहेका छन् ।

यस्तो छ उनीहरूको माग पत्र : 

विषय : रिलायन्स स्पीनिग मिल्सको वैदेशिक रोजगारमा रहेकाहरूलाई निष्कासित प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँड रोक्का गरी, नेपाल धितो पत्र बोर्डमा व्याप्त भ्रष्टाचारलाई छानबिन गरी पाउँ भन्ने मागहरू राखेर धर्ना बसिरहेका छन् । 

महोदय,
उपयुक्त सम्बन्धमा पुँजी बजार क्षेत्र देशको आर्थिक विकासमा अहम् भूमिका निर्वाह गर्ने क्षेत्र रहेको तर यस क्षेत्रको विकास, विस्तार, आधुनिकीकरण र सुधारमा सरकारको उचित ध्यान नपुगेको कारणले, समय समयमा यस क्षेत्रमा व्याप्त अनियमितता र भ्रष्टाचार लगायतका घटनाहरूको भिडियो तथा लिखित सामाग्री नेपालका राष्ट्रिय दैनिक अनलाइन तथा पत्रिकाहरूमा सार्वजनिक भइरहेको र यसै क्रममा हाल चर्चामा रहेको रिलायन्स स्पीनिङ्ग मिल्सको प्रारम्भिक सार्वजनिक निष्कासन पनि अनियमितताको उच्च उदाहरणको रूपमा चर्चामा रहेको र यस घोटालामा नेपाल धितो पत्र बोर्ड, अर्थ मन्त्रालयका कर्मचारीहरू कम्पनी, नेप्से, क्रेडिट रेटिङ एजेंसी, लेखापरीक्षक, कम्पनी रजिष्ट्रारको कार्यालय, योग्य संस्थागत लगानीकर्ता, नेपाल धितो पत्र बोर्डका सञ्चालकहरूको मिलेमतो देखिएकी र नेपाल धितो पत्र बोर्डका पूर्व अध्यक्षहरू भीष्मराज ढुङ्गाना र रमेशकुमार हमाल, कार्यवाहक अध्यक्षहरू नरेन्द्र राजा र महेश बरालका कामकारबाही विवादास्पद रहेकी र हालका अध्यक्ष पनि विवादমা रहेकोले, यस क्षेत्रमा संलग्न ७३ लाख लगानीकर्ता, भ्रष्टाचार विरुद्धको लडाइँमा सहिद भएका ७८ जना Gen-Z युवाहरू, Gen-Z घाइते युवाहरू, नेपाली नागरिकहरूको हितको रक्षाको लागि देशको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा उन्नत बनाउन उपयुक्त कदम चल्न र उक्त क्षेत्रमा व्याप्त भ्रष्टाचार निर्मूल गर्नका लागि आवश्यक कदम चाल्न संयुक्त Gen-Z सायम् बाध्य पारिएको छ । त्यस कारण नेपाल धितो पत्र बोर्डका अध्यक्षको तत्काल राजीनामाको माग गर्दै यस्तो प्रकारका क्रियाकलापहरूमा लगाम नलगाइएमा, नेपालको आर्थिक क्षेत्र खैरो सूचीबाट कालो सूचीमा जान सक्ने ब्यहोरा पनि जानकारी गराउँछौँ ।

मागहरू :

१) रिलायन्स स्पीनिङ्गन् मिल्सको वैदेशिक रोजगारमा गएका नेपालीहरुको लागि निष्कासित आईपीऔ बाडफाँड प्रक्रियालाई तत्काल रोक्नुपर्ने ।

२) निष्पक्ष छानबिन आयोग गठनमा गरी तत्काल धितो पत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई निलम्बन गर्नु पर्ने ।

३) बोर्ड अध्यक्ष दोषी ठहरिए तत्काल बर्खास्त गर्नु पर्ने ।

४) भ्रष्टाचारमा संलग्न दोषीहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने।

अष्ट्रेलियाको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु, दर्जन बढी घाइते

काठमाडौं । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिड्नीको प्रहरीले एक अज्ञात समूहको आक्रमणमा ‘केही व्यक्ति’ को मृत्यु भएको र घटनामा संलग्नता रहेको आशङ्कामा दुई जनालाई हिरासतमा लिइएको mजनाएको छ।

यहूदी समुदायका धेरै सदस्यहरू साँझमा दीप प्रज्वलन गरी मनाइने आठ दिन लामो यहूदी पर्व हनुक्का मनाउने क्रममा छुट्टीमा समुद्र तटमा भेला भएका थिए।

‘अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’का अनुसार कम्तीमा १६ जनालाई अस्पताल लगिएको छ र धेरैको घटनास्थलमै उपचार भइरहेको छ।

अस्ट्रेलियाको यहुदी सङ्घका प्रमुख रोबर्ट ग्रेगरीले सिड्नीको बोन्डी समुद्री तटमा हनुक्का कार्यक्रमका क्रममा आइतबार भएको गोलीकाण्ड ‘त्रासदीपूर्ण तर पूर्ण रूपमा पूर्वानुमानित’ भएको बताउनुभएको छ।

“अल्बानिज सरकारलाई धेरै पटक चेतावनी दिइयो तर सरकार यहुदी समुदायको रक्षाका लागि पर्याप्त कदम चाल्न असफल भएको छ,” फ्रान्सको प्रसिद्ध समाचार संस्था एएफपीले ग्रेगरीलेलाई उद्धृत गरी लेखेको छ ।

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा कायम भएको हो ।

आज ३३० कम्पनीको एक करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर ६० हजार ६९९ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७४ लाख ५५ हजार ७७ को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा बैंकिङ र म्युचुअल फण्ड उपसमूह सामान्य अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिटी होटल लिमिटेडको शेयर मूल्य छ दशमलव २६ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेड (प्रमोटर) को रु २६ करोड १८ लाख ५५ हजार ९३० बराबरको २४ लाख ९३ हजार ८६६ कित्ता शेयर किनबेच भएको छ ।

एनपिएल क्रिकेट : महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित

काठमाडौँ। एनपिएल क्रिकेटको दोस्रो संस्करणको समापनसँगै यसले नेपाली फ्रेन्चाइज क्रिकेटलाई मुलुककै महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित गरेको छ । नेपाल क्रिकेट सङ्घ क्यानद्वारा आयोजित करिब एक महिना लामो प्रतिस्पर्धाले नेपाली क्रिकेट मनोरञ्जनको माध्यम मात्र नभई व्यावसायिकतातर्फ उन्मुख भएको सन्देश दिन सफल भएको छ ।

मुलुकमा राजनीतिक परिवर्तनपछि अन्योलपूर्ण अवस्थामा पनि बिना कुनै व्यवधान सफलतापूर्वक प्रतियोगिता सम्पन्न हुनु उल्लेखनीय उपलब्धि मान्न सकिन्छ । सरकारको प्राथमिकतामा रहेर वर्षामा पनि निरन्तर निर्माण कार्य जारी राख्दै फ्लडलाइट जडान गरी पहिलोपटक रातिको समयमा खेल सञ्चालन गर्नु, दशौँ हजार दर्शकहरुलाई बस्ने सिटको व्यवस्था हुनु एनपिएल सफलताका उदाहरण हुन् ।

यस्तै, निजी क्षेत्रले करोडौँ रुपैयाँ लगानी गर्दै अन्तरराष्ट्रिय ख्यातिप्राप्त खेलाडीलाई आ–आफ्ना टिममा समावेश गरेकाले नै नेपाल तथा विश्वकै क्रिकेटप्रेमीले रोमाञ्चकारी प्रतिस्पर्धाबाट लाभान्वित हुने अवसर पाएका छन् । प्रत्यक्ष रुपमै लाखौँ दर्शकको आकर्षण देखिएपछि भर्खरै निर्माण तथा मर्मतसम्भार गरिएको कीर्तिपुर रङ्गशाला नै अब सानो भएको महसुस गराउन सफल एनपिएलले अब दीर्घकालीन रुपमा नेपाली खेलकुदकै ठूलो ब्राण्डका रुपमा स्थापित हुने स्पष्ट सङ्केत गरेको छ ।

एकपक्षीय फाइनल

गत वर्ष एनपिएल क्रिकेटको पहिलो संस्करणका बेला लुम्बिनी टिम सहभागी टिमहरुमध्ये सबैभन्दा पुछारमा पुगेपछि कप्तान रोहित पौडेलको आलोचना हुँदै आइरहेको थियो । कतिपयले उनलाई राष्ट्रिय टिमको कप्तानको जिम्मेवारीबाटसमेत हटाउनुपर्नेजस्ता आवाज उठाउने गरेका थिए तर एनपिएल क्रिकेटको दोस्रो प्रतियोगितामा उनले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेर मोटरकार, मोटरसाइकल पाउनुका साथै विजेता ट्रफी उचालेर सशक्त कप्तानका रुपमा इतिहास रच्न सफलता प्राप्त गरेका छन् । शनिबार भएको फाइनलमा एकपक्षीय खेल बनाउन कप्तान रोहित नेतृत्वको लुम्बिनी लायन्स टिमले सफलता पाएको थियो ।

यसपाली संयोगले फाइनलमा नेपाली राष्ट्रिय टिमका कप्तान र उपकप्तानबीचको भिडन्त थियो । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स टिमले उपकप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्सको टिमलाई ६६ बल बाँकी रहँदै ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

गत वर्षको उपविजेता सुदूरपश्चिमाञ्चलले यसपाली लिग चरणमा सशक्त खेल प्रदर्शन गर्दै लगातार छ खेल जितेपछि उच्च मनोबलमा देखिएको थियो ।

गत वर्षको विजेता जनकपुर बोल्डस टिम लिग चरणै बाहिरिएपछि नयाँ उपाधि जित्ने होडमा सुदूरपश्चिम रहेको थियो । लुम्बिनी प्रदेशलाई समेत ७ विकेटले पराजित गरिसकेकाले आत्तिनुपर्ने स्थिति थिएन तर एनपिएलको फाइनलमा दुई पटक पुग्न सफल सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्नु नै घातकसिद्ध हुन पुग्यो । उक्त टिमलाई जित्नैपर्ने दबाब थियो तर ब्याटिङमा संयमता हुन सकेन । लगातार नौ विकेट गुम्नु पीडादायी थियो तर लुम्बिनी भने कुनै दबाबबिना फाइनलमा उत्रेको थियो । लुम्बिनीले प्रत्येक खेलमा सुधार गर्दै विजयीको भागिदार बन्न पुगेको मान्न सकिन्छ ।

फाइनल खेललाई प्रतिस्पर्धात्मक भएको दर्शकले देख्न पाएनन् । सुदूरपश्चिमले १०० रन पनि बनाउन नसकी लुम्बिनीलाई ८६ रनको चुनौती दिनु भनेको अत्यन्त कमजोर प्रदर्शन मान्नुपर्छ तर लुम्बिनीले भने ३६ बल बाँकी रहँदै सहजै ६ विकेटले उपाधि हात पार्न पुग्यो । अन्य खेलमा झैँ हिजो पनि छक्काको वर्षा भएको थियो तर एकपक्षीय रुपमा । लुम्बिनीका लागि विष्फोटक ब्याट्सम्यान दिनेश अधिकारीले गरेको ४ वटा छक्कासहित बनाएको ४२ रनले टिमलाई छिटो विजय नजिक लगेको थियो । खेलको अवस्था हेर्दा लुम्बिनीलाई छिटो खेल समाप्त गरी ट्रफी उचाल्ने हतार भैरहेको महसुस हुन्थ्यो ।

करोडौँको पुरस्कार

एनपिएल क्रिकेटका सहभागी खेलाडीहरुका लागि ठूलो लागतको पुरस्कार पनि प्रमुख आकर्षण बन्दै आइरहेको छ । विभिन्न विधाका खेलाडीको प्रोत्साहनका लागि धेरै पुरस्कारका लागि निजी क्षेत्रले प्रायोजन जुटाएर आयोजकलाई सहयोग गरिरहेको छ । यसपटक पनि एपिएलमा विजेता टिम र उत्कृष्ट खेलाडीलाई करोडौँ रुपैयाँ पुरस्कार प्रदान गरियो । विजेता टिम लुम्बिनीले रु एक करोड १० लाख पुरस्कार प्राप्त गरेको थियो । दोस्रो भएको सुदूरपश्चिम टिमले रु ५१ लाख, तेस्रो टोली विराटनगर किङ्ग्सले रु २५ लाख तथा चौथो टोली काठमाडौँ गोर्खाजले रु १५ लाख पुरस्कार प्राप्त गरेको थियो ।

यसबाहेक खेलाडीले पनि व्यक्तिगत रुपमा पचासौँ लाख पुरस्कार पाएका थिए । लुम्बिनीका कप्तान रोहित पौडेलले प्राप्त गरेको मोटरकार, मोटरसाइकलका साथै विराटनगरका सन्दिप लामिछाने, लुम्बिनीका शेर मल्लले मोटरसाइकल पुरस्कार पाएका थिए । अन्य स्वदेशी तथा विदेशी खेलाडीहरुले विभिन्न विधामा नगद पुरस्कार प्राप्त गरेका थिए । खेलाडीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।

प्रतिस्पर्धात्मक स्तर

यस सिजनको एनपिएलले प्रभाव पारेको महत्वपूर्ण विषय हो प्रतिस्पर्धात्मक स्तर । यसपालि अधिकांश खेल अन्तिम ओभरसम्म रोचक बनेका थिए । सहभागी टिमले अन्तिम समयसम्म गरेको प्रयासले खेलको स्तरलाई प्रतिस्पर्धात्मक बनाएको थियो । स्वदेशी तथा विदेशी खेलाडीको सम्मिश्रण भएको टिमहरुबीच भएको प्रतिस्पर्धाबाट दर्शकहरुले स्तरीय खेल हेर्ने अवसर पाएका थिए । विभिन्न देशबाट आएका अन्तर्राष्ट्रिय खेलाडीहरुको खेलमा प्रभाव देखिनुका साथै घरेलु खेलाडीहरुको प्रयासले प्रतियोगिताको गुणस्तरलाई केही हदसम्म उठाउन सहयोगीको भूमिका खेलेको थियो । यसबाट नेपाली खेलाडीहरुको स्तर तथा आत्मविश्वास विगतको तुलना बढेको महसुस गरिएको छ ।

दर्शकहरुको उत्साह

एनपिएलको प्रमुख विशेषता भनेकै दर्शकको उपस्थिति हुन पुग्यो । विगतका वर्षहरुदेखि नै विभिन्न मुलुकमा नेपाली राष्ट्रिय टिमको खेल भएका बेला नेपाली दर्शकहरुको ठूलो सङ्ख्यामा उपस्थितिलाई विश्व किक्रेट जगतले प्रशंसा गर्दै आइरहको छ । नेपालका विभिन्न जिल्लाबाट दर्शकहरु एनपिएल क्रिकेट हेर्न काठमाडौँ आएका थिए । हरेक म्याचमा दर्शकको भब्य उपस्थितिले खेलमा विशेष रौनक ल्याउन सफल भएको थियो । बालबालिकादेखि पाका उमेरका दर्शक खेलमा उपस्थिति हुने गरेको, सहभागी टिमको जर्सी, राष्ट्रिय झण्डा तथा क्लबका झण्डाहरुसहित दर्शकहरुको आगमनले राष्ट्रिय एकताको भावनालाई अझ सुदृढ बनाएको पाइएको छ । टेलिभिजनको प्रत्यक्ष प्रसारण तथा डिजिटल फम्र्याटमार्फत संसारको विभिन्न कुनामा बसेका नेपालीका साथै क्रिकेटप्रेमी विश्वमाझ जोडिन पुग्दा क्रिकेटको प्रभाव अझ विस्तार हुन पुगेको छ ।

टिकटको उच्च माग

एनपिएल क्रिकेटका टिकट खेल अगाडि नै सकिनु यो प्रतियोगिताप्रति खेलप्रेमीहरुको अत्यधिक आकर्षण भएको मान्न सकिन्छ । क्रिकेटका खेल हेर्न दर्शकहरु निक्कै आतुर रहेका थिए । कीर्तिपुर रङ्गशालामा दिनहुँजसो भिड देखिन्थ्यो । विभिन्न खेलका बेला अनलाइनमा सम्पूर्ण टिकट बिक्री भई ‘सोल्ड आउट’ भइसकेको जानकारी आयोजकहरुले दिए पनि खेलका बेला प्याराफिटका रङ्गीन सिटहरु खाली भएको देखिन्थ्यो । यसरी टिकट बिक्री भए पनि सिट खाली भएको स्थिति कसरी उत्पन्न भएको थियो तथा टिकटको कालोबजारी भएको भन्ने जनगुनासोबारे क्यानले छानबिन गर्न जरुरी मानिएको छ । प्रतियोगिताको अन्तिम घडीमा क्यानले एक्कासी टिकटको मूल्य बढाउनु पनि उचित थिएन ।

हेलिकप्टर यात्रा

एनपिएलका क्रममा नेपाल आएका विभिन्न अन्तरराष्ट्रिय खेलाडीले नेपालमा गरेको विभिन्न भ्रमणले नेपालको पर्यटन प्रव्रद्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ । विराटनगर किङ्ग्स टिमका तर्फबाट खेलेका अन्तरराष्ट्रिय खेलाडीहरुले सेमिफाइनलबाट टिम बाहिरिएपछि हेलिकप्टरबाट सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । अतिथि खेलाडी मार्टिन गुप्टिल, फाफ डु प्लेसिस र मर्चेण्ट डे लाङ्गेले नेपालको क्रिकेटका साथै नेपालको प्राकृतिक सौन्दर्यको पनि प्रत्यक्ष अनुभव गरेका छन् । उनीहरुले हिमाली क्षेत्रमा खिचेको फोटोकामाध्यमबाट नेपालको विश्वमा प्रचार भएको छ । अन्य टिमका खेलाडी, अफिसियल तथा अन्य अतिथिहरुले पनि नेपालको प्राकृतिक सौन्दर्यबाट प्रभावित भएको धारणा व्यक्त गरेका छन् ।

क्रिकेटप्रेमीका प्रिय

एनपिएल क्रिकेटको फाइनलको दिन क्रिकेट कमेन्टेटर एण्ड्रयु लियोनार्ड नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा सजिएर कीर्तिपुर रङ्गशालामा बोलिरहेका थिए । अन्य कमेन्टेटरले भने ढाका टोपी लगाएका थिए । केही वर्षदेखि कमेन्टेटर एण्ड्रयुको लोकप्रियता नेपाली क्रिकेटप्रेमीमाझ बढ्दो छ । नेपालको मित्रका रुपमा परिचय बनाएका आयरल्याण्डका पूर्वक्रिकेटर एण्ड्रयु सन् २०१८ मा एभरेष्ट प्रिमियर लिगमा टेलिभिजन कमेण्ट्रीका लागि पहिलोपटक नेपाल आएका थिए । त्यसपछि विभिन्न पटक नेपाल आएका उनले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा उद्घोषण गर्दा नेपालको क्रिकेटका साथै समग्र नेपालको खुलेर प्रशंसा गर्दै विश्वमा नेपालको प्रचारप्रसारका लागि योगदान गर्दै आएका छन् ।

यसपाली कीर्तिपुर रङ्गशालामा खेल हेर्न गएका दर्शकहरुमध्ये केहीले उनकै मुखाकृति झल्कने मुखुण्डोसमेत लगाएर आएको देखिएको थियो । उनी प्रत्यक्ष प्रसारणका क्रममा बोलिरहँदा उनको ठूलो आकारको तस्बिर तथा ब्यानर देखेपछि भावुक हुन पुगेका थिए ।

पहिलोपटक क्रिकेट एकेडेमी

गत वर्षको विजेता जनकपुर बोल्टस टिमले यसपाली उचित नतिजा हासिल गर्न नसके पनि क्रिकेट प्रशिक्षणको निरन्तरताका लागि सक्रिय रहने भएको छ । एनपिएल क्रिकेटमा सहभागी आठ टिममध्ये पहिलोपटक जनकपुर बोल्ट्स टिमले जेबी क्रिकेट एकेडेमीको घोषणा गरी क्रिकेट प्रशिक्षण सञ्चालन गर्ने भएको छ । एकेडेमीले मधेस–प्रदेशका स्थानीय खेलाडीलाई प्रशिक्षण दिने लक्ष्य राखेको छ । यसबाट आगामी दिनमा नयाँ प्रतिभाका लागि अवसरको ढोका खुल्न जाने अपेक्षा गरिएको छ ।

अन्त्यमा, एनपिएल क्रिकेटको समाप्ति सँगसँगै यस सिजनमा देखिएका चुनौतीलाई भविष्यमा अझ व्यवस्थित बनाउँदै विश्वस्तरीय फ्रेन्चाइज क्रिकेटको बाटोतर्फ अघि बढ्नु जरुरी मानिएको छ । दर्शकहरुको व्यापक समर्थनले यो अब लिग अब नेपालमा मात्र नभई क्षेत्रीय बजारमै पनि प्रतिस्पर्धी हुनसक्ने सङ्केत मिलेको छ । क्यानको अबको महत्वपूर्ण जिम्मेवारी भनेको आर्थिक विश्वसनीयतालाई प्रमुख प्राथमिकता दिनु हो । एनपिएलका आम्दानी तथा खर्चको सम्पूर्ण विवरण सार्वजनिक गरेर पारदर्शिता कायम गर्नु जरुरी देखिएको छ ।

यसैगरी, यस प्रतियोगिताका क्रममा उत्कृष्ट खेल प्रदर्शन गरेका प्रतिभाहरुलाई आगामी विश्वकपका लागि छनोट गरिने नेपाली टिममा समावेश गरी राष्ट्रिय टिम अझ बलियो बनाउन अग्रसरता देखाउनुपर्ने आवश्यकता महसुस गरिएको छ । एनपिएलमा राम्रो प्रदर्शन गरेका विनोद भण्डारी, शेर मल्ल, बसिर अहमदलगायतका खेलाडीलाई राष्ट्रिय टिममा समेटन सकिएको खण्डमा आगामी टि–ट्वान्टी विश्वकपमा नेपाललाई फाइदा हुने देखिन्छ । नेपाललाई टेष्ट म्याच खेल्ने राष्ट्रको सूचीमा समावेश गर्न आगामी दिनमा सुधारका प्रयास जारी राख्नुपर्छ ।

यसैगरी, एनपिएलको दुई संस्करणको समाप्तिपछि अब आगामी वर्ष तेस्रो संस्करण राजधानी काठमाडौँ बाहिर पनि विस्तार गर्न क्यान व्यवस्थापनको सक्रियता अपेक्षित मानिएको छ ।

निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधि सभाका अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लिएर विशेष अदालत गएको अख्तियारले चालिसेविरुद्ध करिब ४ करोडको बिगो दावी समेत गरेको छ । चालिसे २०७४ देखि २०७९ सम्म काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर थिए ।

२०७९ को निर्वाचनमा उनी काठमाडौं ३ बाट सांसद निर्वाचित भएका हुन् । अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा चालिसे पत्नी मन्दिरा, छोराहरू सागर र सन्दीपका साथै बुहारी प्रमिला पोखरेललाई प्रतिवादी बनाइएको छ । मुद्दा दर्ताको क्रममा रहेकाले विस्तृत विवरण आउन बाँकी छ। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित सांसद चालिसे २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा विजयी भएका थिए ।

सहसचिव गिरीलाई ‘सर्वोत्कृष्ट संसद्सेवा पुरस्कार’

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले उत्कृष्ट कार्यसम्पादन गरेका चार जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले १९ औँ संसद्सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई पुरस्कार प्रदान गरे ।

सचिवालयले सहसचिव मनोजकुमार गिरीलाई सर्वोत्कृष्ट ‘संसद्सेवा पुरस्कार’, शाखा अधिकृत जयराम खड्कालाई ‘उत्कृष्ट संसद्सेवा पुरस्कार’ तथा प्रविधिक नायब सुब्बा कृष्णकला पौडेल र कार्यालय सहायक गणेश महर्जनलाई ‘संसद्सेवा पुरस्कार’ प्रदान गरेको हो । पुरस्कारको राशि क्रमशः एक लाख, रु ७५ हजार र रु ५० हजार रहेको छ ।

त्यसअवसरमा संसद् सेवाका अन्य चार जना माली, कुचिकार, चालक र कार्यालय सहयोगीलाई पनि प्रोत्साहनस्वरुप नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसअघि कार्यक्रममा सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले ‘संसद्सेवा’ स्मारिका विमोचन गरे । स्मारिकाको विज्ञका रुपमा सेवा गरेका राष्ट्रिय समाचार समिति (रासस)का आलेख शाखाप्रमुख कृष्ण अधिकारीलाई सम्मान गरे । विसं २०५८ मङ्सिर २८ गते संसद्सेवा ऐन जारी भएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।

एमाले महाधिवेशनको बन्द सत्र सुरु, निर्वाचनमा विद्युतीय मतदान मेशिन {तस्वीरहरु}

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बन्द सत्र सुरु भएको हो । जारी बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रगानको पंक्ति लिँदै रोचक नारा लगाएका छन् । बन्द सत्रमा उपस्थित महिला, युवा, दलित र मधेशका प्रतिनिधिलाई उठ्न लगाएर ओलीले भने, ‘सयौँ थुगा फूलका हामी एउटै माला एमाले ।’

बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् । बन्द सत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन हुनेछ । ओलीले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अवस्थाबारे भनाइ राख्ने छन् । अध्यक्षा मण्डलले निर्वाचन आयोगलाई प्रक्रिया अघि बढाउन निर्देशन दिनेछ । एमालेले नेतृत्व चयनका लागि हुने निर्वाचनमा विद्युतीय मतदान मेशिन प्रयोग गर्ने भएको छ ।

निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय भएको जानकारी दिए । आइतबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या हेरफेरको निर्णय गरेको थियो। अब पार्टीमा वरिष्ठ उपाध्यक्ष पद रहने छैन । बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बन्नेछ ।

पार्टीमा मनपरीतन्त्रविरूद्धको लडाइँ जारी छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा मनपरीतन्त्रका विरूद्ध लडाइँ जारी रहेको बताएका छन् । आजको केन्द्रीय कमिटी बैठकले पुरानै विधान ब्युँताउने निर्णय गरेको छ । सोही सन्दर्भमा बोल्दै उपाध्यक्ष पाण्डेले भने, ‘के हाम्रा विधानहरू अस्थायी हुन् ? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔं भन्ने ? यो सरासर मनपरी होइन भने के हो ?’

उनले अहिले आएर विधान अधिवेशनको निर्णयविपरीत पदाधिकारी र केन्द्रीय सदस्यको आधार बढाइएको बताए । ‘यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ। पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य छ,’ महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने ।

विधान संशोधन गर्ने भए अध्यक्ष र महासचिव मात्रै राखौं : गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले विधान संशोधन गर्ने हो भने अध्यक्ष र महासचिव मात्रै राख्न आग्रह गरेका छन् । भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले पद बाँड्न विधान संशोधन गर्न नहुने बताएका छन् ।

‘विधान संशोधन गर्ने नै हो भने एक अध्यक्ष र एक महासचिव मात्रै रहने गरी संशोधन गरौं, हामी बारीको, कान्लाको पाटोमै बसौंला,’ उनका भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले सुनाए, ‘हामी दूरदर्शी पनि रहेनछौं, भदौको विधान महाधिवेशनको निर्णय यति छोटो समयमै उल्टायौं ।’

उनले पद बाँडेर पार्टीभित्र एकता नहुने भन्दै एकता कायम राख्न सबैलाई जोड्ने भावना चाहिने बताए । ‘अहिले एकता टुटेको अवस्था छ, सबैलाई समेट्ने भावना चाहिन्छ,’ उनले भने । केन्द्रीय कमिटीले पुरानै विधान ब्युँताउने निर्णय गरिसकेको छ भने बन्द सत्र पनि चलिरहेको छ ।

एमालेको बन्द सत्र सुरू : बनाइएन अध्यक्ष मण्डल, ओलीले नै चलाए

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत बन्द सत्र सुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आज अपराह्न सवा ३ बजेदेखि बन्द सत्र सुरू भएको हो । अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि आफ्नो अवधारणा पत्र पेस गर्ने तयारी गरेका छन्। बन्द सत्रअघि भृकुटीमण्डपमै केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकले पुरानै विधान ब्युँताउने निर्णय गरेको थियो ।

बन्द सत्र अध्यक्ष मण्डल नबनाई नै सुरु भएको हो। अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्र सञ्चालन गरेका छन्। केन्द्रीय कमिटीका पदाधिकारी मञ्चमा छन्। स्थायी कमिटी र पोलिटब्यूरोसहित प्रतिनिधि तल राखेर महाधिवेशनको बन्द सत्र सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्र अध्यक्षले सञ्चालन गर्ने र अध्यक्ष मण्डल नबनाउने बताउँदै बन्द सत्र सुरु गरेका हुन्। यसअघिको सचिवालय बैठकले पनि अध्यक्ष मण्डल नबनाउने निर्णय गरेको थियो।

मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनु पर्दछ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन् । आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा युवाहरुले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको स्मरण गराउँदै सोही मुद्दा सम्बोधन हुनेगरी काम गर्न आवश्यक रहेको बताएकी हुन् ।

उनले समावेशी विकास र समन्यायको आकांक्षा जेनजीहरुको अभिव्यक्ति भएको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्नसके देशमा दिगो विकास हुने र त्यसले राष्ट्रलाई बलियो बनाउने समेत बताइन् । प्रधानमन्त्री कार्कीले सबै जाति, भाषा र संस्कृतिका समुदायको हीत हुनेगरी अघि बढ्न पनि सम्बन्धित पक्षलाई सचेत पनि गराइन् ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भोलि (सोमबार) बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको कांग्रेसका मुख्य सविच कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।

मुख्य सचिव पौडेलले आइतबार जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक २०८२ मंसिर २९ गते सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

यसअघि झण्डै डेढ महिना चलेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई साताअघि मात्रै सकिएको थियो । गत असोज २८ गते सुरु भएको बैठक विभिन्न निर्णय गर्दै मंसिर १५ गते सम्पन्न भएको थियो । बैठक महाधिवेशन तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लाबाट भएको उम्मेदवार सिफारिसलगायतमा केन्द्रित हुने बताइएको छ ।

एमाले महाधिवेशन: कुन-कुन पदमा उठ्दैछन् यी चर्चित युवा?

काठमाडौँ ।  नेकपा एमालेको ११औं महाधिवेशनबाट पार्टीको पहिलो पुस्ताका नेताहरूले बिदा लिने क्रम चलिरहेको छ । १०औं महाधिवेशनबाट उपाध्यक्ष बनेका अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरिसकेका छन् । उनीहरूबाहेक अरू पनि पुरानो पुस्ताका नेताहरू बिदा हुनसक्छन् । अर्कातिर यही महाधिवेशनबाट केही चर्चित युवाहरूले पार्टीभित्र फरकफरक भूमिका खोजिरहेका छन् । सामाजिक सञ्जाल र युवापुस्ता माझ चर्चित केही युवा अनुहारहरु पार्टी पधादिकारी देखि केन्द्रीय सदस्यसम्म प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

सुहाङ नेम्वाङ

एमालेका पूर्वउपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ युवापुस्तामाझ चर्चित अनुहार हुन् । उनले जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । उम्मेद्वारी घोषणा गर्दै उनले फेसबुक पोष्टमा लेखेका छन्, ‘नेकपा एमालेको गौरवमय आन्दोलनलाई नयाँ पुस्तासँग जोड्नु आजको प्रमुख चुनौति र कार्यभार हो । यो ऐतिहासिक कार्यभारमा म पनि योगदान गर्न सक्छु भन्ने लागेर ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने निधो गरेँ । तपाईंहरूको माया, साथ र सहयोगका लागि हार्दिक अनुरोध छ।’

वकालत पेशामा रहेका सुहाङ आफ्ना पिताको निधन भएपछि सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । ईलाम क्षेत्र नम्बर दुईका सांसद रहेका सुवास नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा उम्मेद्वार बन्दै विजयी भएका थिए ।

सुनिता ढंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सामाजिक सञ्जाल प्रयोगकर्ता र युवापुस्तमाझ चर्चित छिन् । पार्टी सदस्य नभए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७९ सालको स्थानिय निर्वाचनमा उनलाई उपमेयरको टिकट दिएका थिए । मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन शाह निर्वाचित भएका थिए भने सुनिता उपमेयरमा निर्वाचित भएकी थिइन् । उनी पार्टीभित्र केपी ओली निकट भनेर चिनिने सुनितालाई अध्यक्ष ओलीले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेका हुन् । उनले अहिलेसम्म कुनै पदमा उम्मेद्वारी दिने नदिने प्रष्ट पारेकी छैनन् ।

महेश बर्तौला

२०७९सालको संसदीय निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २मा पूर्वमन्त्री विरोध खतिवडालाई पराजित गर्दै सांसद बनेपछि महेश बर्तौला चर्चामा आएका थिए । एमाले सत्तामा रहेकै बेला उनलाई अध्यक्ष ओलीले उनलाई पार्टीको प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए । केपी ओली निकट बर्तौला यसपटक केन्द्रीय सदस्यमा दोहोरिन सक्नेछन्।

रचना खड्का

अनेरास्ववियुको महासचिव बनेकी दोलखाकी रचना खड्का बाग्मती प्रदेश सभाकी सांसद र पार्टीको केन्द्रीय सदस्य हुन् । उनी छोटो समयका लागि प्रदेश सरकारमा मन्त्री पनि भएकी थिइन् । ईश्वर पोखरेल समूहसँग नजिक रहेकी खड्काले सचिवमा उम्मेद्वारी दिने तयारी गरिरहेकी छिन् ।

सुनिता बराल

२०७९सालको निर्वाचनमा एमालेबाट समानुपातिक सांसद बनेकी बराल ओलीनिकट नेताका रुपमा चिनिन्छिन् । अनेरास्ववियुको राजनीतिबाट उदाएकी बरालले यसपटक पनि केन्द्रीय सदस्य दोहोर्याउने सम्भावना छ ।

उषाकिरण तिमल्सिना

पार्टीभित्र अध्यक्ष ओलीको खरो आलोचनाका कारण निलम्बन समेत भोगेकी उषाकिरण तिम्सेना १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन् । अनेरास्वियुको राजनीतिबाट उदाएकी तिम्सेनाले यसपटक पनि केन्द्रीय सदस्य दोहोर्याउन चाहेकी छिन् ।

राधिका खतिवडा

विद्यार्थी राजनीतिबाटै उदाएकी राधिका खतिवडा पेशाले वकिल हुन् । गरीब तथा निमुखाका मुद्धा निशुल्क लडेर चर्चा कमाएकी खतिवडालाई एमालेवृत्तमा ‘गरीबकी वकिल’ भन्ने गरिन्छ । उनले जारी ११औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरिसकेकी छिन् । साथै, अध्यक्षमा केपी शर्मा ओलीलाई साथ दिने कुरामा पनि उनी खुलेरै लागेकी छिन् ।

क्षितिज थेवे

युवा संघका अध्यक्ष क्षितिज थेवे जेनजी आन्दोलनपछी चर्चामा आएका थिए । पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षाबाट गुण्डु आएपछी उनको सुरक्षामा थेवे खटिएका थिए । केन्द्रीय सदस्यमा डेब्यु गर्ने तयारी गरिरहेका थेवे स्वभाविक रुपमा केपी ओली पक्षधर हुन्।

मेनका पछाईं

विद्यार्थी राजनीतिबाट उदाएकी कर्णालीको नेतृ मेनका पछाईं पनि यसपटक केन्द्रीय सदस्यको दौडमा छिन् । १०औं महाधिवेशनबाटै केन्द्रीय सदस्य बन्ने प्रयास गरे पनि त्यतिबेला सफल नभएका कारण अहिले भने प्रतिस्पर्धामा उत्रिने उनले प्रष्ट पारेकी छिन् ।

श्रीमतीको हत्या गरी शव गाडेपछि जसले दिए बेपत्ता भन्दै प्रहरीमा निवेदन

संखुवासभा । संखुवासभामा श्रीमतीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । मादी नगरपालिका–६ बस्ने ४९ वर्षीय प्रेम दोर्ची शेर्पा पक्राउ परेका हुन् । उनीमाथि आफ्नी ३७ वर्षीया श्रीमती मिना शेर्पाको हत्या गरेको आरोप लागेको हो । मंसिर ९ गते आफ्नी श्रीमती मिना हराएको भनेर प्रेमले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । निवेदनपछि अनुसन्धानबाट प्रेम दोर्ची नै शंकास्पद पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो ।

सोधपुछको क्रममा उनले हत्या गरेको स्वीकारेका हुन् । ‘मंसिर ९ गते राति अन्दाजी साढे १० बजे ओखरेबोटे बजारबाट घर फर्किने क्रममा दुई जनाबीच विवाद भएको र बाटैमा कुटपिट गरी हत्या गरेको खुलेको छ,’ प्रहरी निरीक्षक राजवंशीले भने, ‘हत्या पछि आफ्नै अलैची बारीमा लाशलाई त्रिपालमा बेरेर खाल्डो खनेर गाडेको छु भनेका थिए ।’

त्यसपछि इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाबाट प्रहरी निरीक्षक पर्शुराम राईको कमाण्डमा अनुसन्धान टोली खटिएर शव निकालिएको थियो । प्रहरीले शव सडिसकेको अवस्थामा फेला पारेको थियो । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गर्न प्रेम दोर्चीमाथि कर्तव्य ज्यान कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छ : देवराज घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसदलाई बन्देज लगाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । संघीय संसद सचिवालयका दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभाको विघटन गर्ने कामको सान्दर्भिकता नभएको जिकिर समेत गरे । सभामुख घिमिरेले सरकारले संसद सचिवालयका कर्मचारीहरुको सेवा, सुविधा र दरबन्दी घटाउने कामप्रति पनि असन्तुष्टि व्यक्त गरे । सरकारले संघीय संसदलाई आफू मातहतको कुनै एउटा शाखाको जस्तो व्यवहार गर्नु उचित नभएको सभामुख घिमिरेको भनाई थियो ।

उनले भने, ‘२७ भदौमा गएर संसदलाई नै विघटन गरिएको छ । यसको सोझो सान्दर्भिकता देखिँदैन र छैन । यो संसदीय व्यवस्थामाथिको प्रहार हो । पछिल्लो समय सरकारले संसद र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रुपमा अदृष्य बन्देज लगाउने प्रयास गरिरहेको छ । म सभामुखको हैसियतले स्पष्ट शब्दमा भन्न चाहन्छु–संसदको सरकारको अधिनमा रहने कुनै एउटा शाखा होइन र हुन सक्दैन । शक्ति पृथकीकरणको सिद्धान्त अनुसार संसद आफैमा पूर्ण स्वायत्त निकाय हो ।’

उनले भने, ‘संसदको बजेटमा अर्थ मन्त्रालयले कैंची चलाउनु, कर्मचारीको सेवा, सुविधा र दरबन्दीमा प्रशासनिक बाधा पु¥याउनु भनेको अप्रत्यक्षरुपमा व्यवस्थापिकालाई कार्यकारीले नियन्त्रण गर्ने उल्टो प्रयास हो । संसदको आर्थिक र प्रशासनिक साँचो सरकारको हातमा मात्रै हुने हो भने यो संसदले कसरी सरकारमाथि निष्पक्ष निगरानी र सन्तुलित कामहरु गर्न सक्दछ ? यो अहिले तत्काल छलफल, बहस र तुरुन्त कार्यान्वयनमा सुधार गर्नुपर्ने विषय हो भन्नेकुरा म राख्न चाहन्छु ।’ सभामुख घिमिरेले सरकारले संघीय संसदको सेवा, सुविधा घटाउने निर्णय तत्काल सच्याउनु पर्ने समेत बताए ।

तीन महिनामै उल्टियो एमालेको विधान, अब वरिष्ठ उपाध्यक्ष नरहने

काठमाडौं । विधान महाधिवेशनको तीन महिना नबित्दै नेकपा (एमाले) ले विधान संशोधन गरेको छ । एघारौँ महाधिवेशनको बन्दसत्रअघि आज बिहान बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार विधान संशोधनगरी केन्द्रीय समितिको आकार र पदाधिकारीको संख्या बढाउने निर्णय गरेको हो ।

जसअनुसार अब केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने छ भने पदाधिकारी १९ जना कायम हुनेछ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । दशौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, विधान संशोधनसहित १९ जना पदाधिकारी बनाउने प्रस्ताव बन्द सत्रको हलमा प्रस्तुत हुनेछ । गत भदौमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ जनाको बनाएको थियो ।

यसअघि दुई दिनअघि मात्रै बसेको सचिवालय बैठकले पनि विधान संशोधन नगर्ने र भदौमै पारित विधान अनुसार महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने निर्णय गरेको थियो । तर, अन्तिम समयमा आइतबार बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउँदै विधान संशोधन गरेको हो । जस अनुसार, अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने पदाधिकारी संख्या बन्द सत्रको हलमा प्रस्तुत गर्ने निर्णय भएको हो । त्यस्तै, पोलिटब्युरो सदस्यको एक तिहाइ स्थायी कमिटी बनाइने पनि उनले जानकारी दिए । उनका अनुसार, पोलिटब्युरो ९९ सदस्यीय हुनेछ । केन्द्रीय कमिटी भने २ सय ५१ बाट बढाएर ३ सय १ जनाको बनाइएको छ ।

एमाले महाधिवेशनको बन्द सत्र फेरि ३ बजेलाई सारियो

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय कमिटीको बैठकका कारण सरेको बन्दसत्र १२ बजे, १ बजे हुँदै दिउँसो ३ बजेका लागि सरेको हो । एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार खानापछि बन्द सत्र सुरु हुनेछ । काठमाडौंस्थित भृकुटीमण्डपमा हुने बन्दसत्रमा २२६२ महाधिवेशन प्रतिनिधि छन् भने सयौं कार्यकर्ता भृकुटीमण्डपमा भेला भएका छन् ।

केन्द्रीय कमिटीको बैठकले पुरानै विधान कायम गरेर जाने निर्णय गरेको छ । पोलिटब्युरोको एक तिहाइ सङ्ख्याको स्थायी कमिटी, पोलिटब्युरो ९९ सदस्यीय बनाउने निर्णय भएको छ भने केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरिएको छ । बन्द सत्रमा विधान संशोधनका सन्दर्भमा संख्या र संरचना मात्र परिवर्तन हुने र अन्य यथावत् रहने बताइएको छ ।