`

भोटेकोशी बाढीमा ५४७ को मृत्यु, उद्धारमा ४४७३ प्रहरी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ५४७ पुगेको छ। नेपाल प्रहरीले शुक्रबार अपराह्न ३ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीपछि विभिन्न जिल्लाबाट ५४७ जनाको शव फेला परेको जनाएको हो।

प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। त्यहाँ २२१ जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, नवलपरासी पश्चिममा २८, तनहुँमा २९ र रसुवामा १३ जनाको शव फेला परेको छ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीका अनुसार अहिले ४ हजार ४७३ जना प्रहरी कर्मचारी खोज तथा उद्धारमा खटिएका छन्।

विपद्को उद्धार अभियानमा खटिएका २७ जना प्रहरी कर्मचारीसमेत सम्पर्कविहीन छन्। उनीहरूमध्ये एक प्रहरी कर्मचारीको शव फेला परिसकेको प्रहरीले जनाएको छ।

बाढीबाट घाइते भएका तथा उद्धारपछि उपचारका लागि लगिएका व्यक्तिको संख्या १ हजार ४७३ पुगेको छ। तीमध्ये रसुवामा ५७२, नुवाकोटमा ८९८ र धादिङमा तीन जना रहेका छन्।

त्यस्तै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार गराइरहेका तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ९४ रहेको प्रहरीले जनाएको छ।

बाढीपछि नदी तथा आसपासका क्षेत्रमा अझै खोजी अभियान जारी रहेकाले मृतक र बेपत्ताको संख्या थप बढ्न सक्ने प्रहरीको अनुमान छ। उद्धार टोलीले जोखिमपूर्ण स्थानमा खोजीलाई निरन्तरता दिइरहेको छ।

पहिरोबाट भएको क्षतिप्रति चिनियाँ राष्ट्रपति सीको दुःख व्यक्त

काठमाडौं। नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति चिनियाँ राष्ट्रपति सी चिनफिङले दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति सीले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउँदै प्राकृतिक विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त गरेका हुन्।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपालका विभिन्न जिल्लामा ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि आएको पहिरो तथा नदीको तीव्र बहावका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परी हालसम्म ५३८ जनाको मृत्यु भएको छ। त्यस्तै, ९७७ जना अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ।

चिनियाँ राष्ट्रपतिको समवेदना सन्देशमा नेपालले भोगिरहेको विपद्प्रति चीनको गहिरो चिन्ता र सहानुभूति व्यक्त गरिएको छ।

विपद्को यस कठिन समयमा पीडित परिवार तथा नेपाली जनताप्रति चीनले ऐक्यबद्धता जनाएको छ।

३६ घण्टामै विपद् कोषमा झन्डै २ अर्ब जम्मा

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग ओइरिएको छ। पछिल्लो ३६ घण्टामै कोषमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।

अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वटा वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताहरूले १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका हुन्।

भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारले प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत तथा पुनःस्थापनाका लागि सरकारी कोषमा सहयोग जुट्ने क्रम तीव्र बनेको हो।

सरकारले कोषमा प्राप्त हुने रकम संकलन तथा समन्वयको जिम्मेवारी अर्थ मन्त्रालयलाई दिएको छ। संस्थागत रूपमा १ करोड रुपैयाँ वा त्यसभन्दा बढी सहयोग गर्ने दाताबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वयं रकम ग्रहण गरिरहेका छन्।

व्यक्तिगत रूपमा सहयोग गर्न चाहनेले भने अर्थ मन्त्रालयमा पुगेर नगद रकम उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ।

नयाँ सहयोग थपिएसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको मौज्दात ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ रहेको थियो।

यसैबीच, बिहीबार मात्रै करिब ६ घण्टाको अवधिमा निजी क्षेत्रका विभिन्न दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।

अर्थ मन्त्रालयका अनुसार उक्त रकममा मित्रराष्ट्रहरूले सहयोग गर्ने घोषणा गरेका रकम भने समावेश गरिएको छैन।

सरकारले प्राप्त सहयोगलाई प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा आगामी पुनःस्थापना र पुनर्निर्माणमा परिचालन गर्ने तयारी गरेको छ।

ट्रम्पको संवाद प्रयासबीच तीन देशको सैन्य अभ्यास

काठमाडौं। उत्तर कोरियासँग संवादको वातावरण बनाउन अमेरिकाले दक्षिण कोरियासँग गर्ने नियमित सैन्य अभ्यासको अवधि छोट्याए पनि अमेरिका, दक्षिण कोरिया र जापानले भने संयुक्त सैन्य अभ्यासलाई निरन्तरता दिने भएका छन्।

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ (जेसीएस) का अनुसार तीन देशले आगामी सेप्टेम्बर ७ देखि ११ सम्म जेजु टापुको पूर्व तथा दक्षिणतर्फको अन्तर्राष्ट्रिय जलक्षेत्रमा ‘फ्रिडम एज’ नामक संयुक्त सैन्य अभ्यास सञ्चालन गर्नेछन्।

अभ्यासका क्रममा समुद्री क्षेप्यास्त्र प्रतिरक्षा, हवाई तथा वायु प्रतिरक्षा, पनडुब्बीविरोधी युद्ध र साइबर सुरक्षासँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गरिनेछ।

जेसीएसले ‘फ्रिडम एज’लाई उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र क्षमताबाट उत्पन्न हुन सक्ने जोखिम सामना गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको रक्षात्मक अभ्यासका रूपमा व्याख्या गरेको छ। तीन देशबीचको सुरक्षा सहकार्य बलियो बनाउँदै क्षेत्रीय शान्ति तथा स्थायित्व कायम गर्नु पनि अभ्यासको उद्देश्य रहेको जनाइएको छ।

सन् २०२३ मा अमेरिका, दक्षिण कोरिया र जापानका नेताहरूबीच क्याम्प डेभिडमा भएको शिखर बैठकपछि तीन देशबीच नियमित संयुक्त सैन्य अभ्यासको प्रक्रिया अघि बढेको थियो। त्यसक्रममा पहिलो ‘फ्रिडम एज’ अभ्यास सन् २०२४ को जुनमा आयोजना गरिएको थियो।

अमेरिकी प्रशान्त क्षेत्रीय कमान्डकी प्रवक्ता लेफ्टिनेन्ट कमोडोर क्लो मोर्गनका अनुसार यस्ता अभ्यासले तीन देशका सेनाबीच सहकार्य र अन्तरक्रियाशीलता बढाउनुका साथै इन्डो–प्यासिफिक क्षेत्रमा सुरक्षा साझेदारी थप मजबुत बनाउन सहयोग गर्छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र दक्षिण कोरियाबीच हुँदै आएको ‘उल्ची फ्रिडम सिल्ड’ सैन्य अभ्यासको अवधि घटाएर पाँच दिनमा सीमित गर्ने निर्देशन दिएका थिए। यसअघि उक्त अभ्यास ११ दिनसम्म सञ्चालन हुँदै आएको थियो।

ट्रम्प प्रशासनले उत्तर कोरियासँग संवादको सम्भावना खोजिरहेका बेला सैन्य अभ्यासको अवधि घटाइएको हो। ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनका लागि अमेरिका–दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास असहज र अपमानजनक हुने धारणा व्यक्त गर्दै आएका छन्।

उता, अमेरिकी सैन्य स्रोत तथा जनशक्तिमा परेको दबाबलाई कारण देखाउँदै दक्षिण कोरियाले अमेरिका र दक्षिण कोरियाबीच हुने अर्को संयुक्त अभ्यास ‘साङ्योङ’ भने रद्द गरेको छ। इरानसँग सम्बन्धित सैन्य तनावका कारण अमेरिकी सेनामाथि थप दबाब परेको दक्षिण कोरियाली पक्षको भनाइ छ।

तर उत्तर कोरियाले अमेरिका र उसका सहयोगी मुलुकले सञ्चालन गर्ने सैन्य अभ्यासको लगातार विरोध गर्दै आएको छ। प्योङयाङले यस्ता अभ्यासलाई आफ्नो सुरक्षामाथिको चुनौतीका रूपमा लिँदै जवाफी सैन्य कदम चाल्ने तथा क्षेप्यास्त्र परीक्षण गर्न सक्ने चेतावनीसमेत दिने गरेको छ।

यस्तो अवस्थामा ‘फ्रिडम एज’ अभ्यासले अमेरिका, दक्षिण कोरिया र जापानबीचको सुरक्षा सहकार्य कमजोर नभएको सन्देश दिएको छ। उत्तर कोरियासँग संवादको प्रयास एकातिर जारी रहे पनि आणविक तथा क्षेप्यास्त्र जोखिमलाई ध्यानमा राख्दै तीन देशले सैन्य तयारी र आपसी समन्वयलाई निरन्तरता दिने रणनीति अपनाएका छन्।

गृहमन्त्रीलाई कांग्रेस सांसद गुरुङकाे सुझाव- त्रिशूलीमा छिटाे तुइन जडान गराउनुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री टेकबहादुर गुरुङले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई सहज बनाउन तत्काल तुइनको व्यवस्था गर्न गृहमन्त्री सुधन गुरुङलाई सुझाव दिएका छन्।

नदीमा आएको बाढीका कारण वारिपारि आवतजावत अवरुद्ध भएकाले प्रभावित नागरिकसम्म पुग्न वैकल्पिक माध्यम आवश्यक रहेको भन्दै उनले तुइनको व्यवस्था गर्नुपर्ने बताएका हुन्।

बाढी प्रभावित नुवाकोटको विदुरस्थित ढुंगे बजार र देवीघाट क्षेत्रको स्थलगत निरीक्षण गरेपछि गुरुङले नेपाली सेनाको बट्टारस्थित मैथिली ब्यारेकमा गृहमन्त्री सुधन गुरुङसँग भेट गरेका थिए। सोही क्रममा उनले उद्धार कार्यलाई थप छिटो र प्रभावकारी बनाउन तुइन उपयोगी हुने सुझाव दिएका हुन्।

गुरुङले हेलिकप्टरबाट उद्धार गर्दा एकपटकमा सीमित व्यक्तिलाई मात्र सुरक्षित स्थानमा सार्न सकिने भएकाले ठूलो संख्यामा प्रभावित नागरिकको उद्धार गर्न समय लाग्ने बताए।

‘हेलिकप्टरबाट एकपटकमा चार–पाँच जनाको मात्रै उद्धार हुन्छ। त्यसरी गर्दा धेरै समय लाग्छ,’ उनले गृहमन्त्रीसँग भने, ‘यस्तो अवस्थामा तुइनको व्यवस्था गर्न सके उद्धार छिटो र प्रभावकारी बनाउन सकिन्छ।’

बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि कतिपय स्थानमा स्थलगत आवागमन पूर्ण रूपमा प्रभावित भएको छ। यस्तो अवस्थामा नदी वारिपारिका नागरिकलाई सुरक्षित रूपमा आवतजावत गराउन अस्थायी संरचनाको आवश्यकता रहेको गुरुङको भनाइ छ।

उनले राहत सामग्री प्रभावित बस्तीमा पुर्‍याउन तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नसमेत स्थानीयस्तरमै प्रयोग गर्न सकिने वैकल्पिक माध्यम तत्काल तयार गर्नुपर्नेमा जोड दिएका छन्।

‘टक्सिक’को दोस्रो दिनमै कमाइ खस्कियो

काठमाडौं । कन्नड स्टार यशको मुख्य भूमिका रहेको फिल्म ‘टक्सिकः अ फेयरी टेल फर ग्रोन–अप्स’ले प्रदर्शनको पहिलो दिन आक्रामक सुरुवात गरे पनि दोस्रो दिन भने बक्स अफिसमा ठूलो गिरावट बेहोरेको छ।

बुधबारदेखि प्रदर्शनमा आएको एक्सन–थ्रिलर फिल्मले समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ। तर त्यसको असर पहिलो दिनको व्यापारमा खासै देखिएन। फिल्मले भारतमा पहिलो दिन १०१ करोड १० लाख भारु कमाएको थियो भने विश्वव्यापी रूपमा करिब १४० करोड भारुको कारोबार गरेको बताइएको छ।

व्यापारसम्बन्धी वेबसाइट स्याकनिल्कको प्रारम्भिक तथ्यांकअनुसार बिहीबार रातिसम्म भारतमा फिल्मले ३६ करोड ४० लाख भारु कमाएको छ। पहिलो दिनको तुलनामा दोस्रो दिनको कमाइ करिब ६४ प्रतिशतले घटेको हो।

फिल्मको पहिलो दिनको अकुपेन्सी ५६.१ प्रतिशत रहेकोमा दोस्रो दिन यो दर घटेर २६.६ प्रतिशतमा झरेको छ। दुई दिनको भारततर्फको कुल कमाइ भने १३७ करोड ५० लाख भारु पुगेको छ।

भाषागत प्रदर्शन हेर्दा ‘टक्सिक’ले कन्नडभन्दा हिन्दी बजारमा राम्रो व्यापार गरिरहेको देखिएको छ। हिन्दीपछि तेलुगु संस्करणले पनि दर्शकको राम्रो साथ पाएको छ। भने तमिल र मलयालम संस्करणको व्यापार तुलनात्मक रूपमा कमजोर देखिएको छ।

फिल्मको प्रदर्शनअघि नै यशका प्रशंसकबीच ‘टक्सिक’लाई लिएर ठूलो उत्सुकता थियो। रिलिजको पाँच दिनअघिसम्म भारतमा १८ लाखभन्दा बढी टिकट बिक्री भइसकेका थिए। त्यसका बाबजुद प्रदर्शनपछि फिल्मले हिंसात्मक दृश्य, बोल्ड प्रस्तुति र कमजोर पटकथालाई लिएर आलोचना खेपिरहेको छ।

सप्ताहन्त सुरु भएसँगै फिल्मको व्यापारमा सुधार आउने अपेक्षा गरिएको छ। व्यापार विश्लेषकहरूले दर्शकको साथ कायम रहे पहिलो सप्ताहन्तमै फिल्मले भारतमा २०० करोड भारुको आँकडा पार गर्न सक्ने अनुमान गरेका छन्।

केभीएन प्रोडक्सन र मोन्स्टर माइन्ड क्रिएशन्सको निर्माण रहेको फिल्ममा यश पहिलोपटक दोहोरो भूमिकामा देखिएका छन्। उनले राया र टिक्का नामका बुबा–छोराको भूमिका निर्वाह गरेका छन्।

फिल्ममा कियारा आडवाणी, नयनतारा, हुमा कुरेशी र तापसी पन्नूको समेत अभिनय छ। ‘टक्सिक’मार्फत यश करिब चार वर्षपछि ठूलो पर्दामा फर्किएका हुन्। उनी पछिल्लो पटक सन् २०२२ मा रिलिज भएको सफल फिल्म ‘केजीएफः च्याप्टर २’मा देखिएका थिए।

 

बाढीपीडितका लागि भारतले थप राहत पठाउने

काठमाडौं । नेपालमा भोटेकोशी बाढीपछि जारी उद्धार तथा राहत अभियानलाई भारतले निरन्तर चासोका साथ नियालिरहेको छ। भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालमा भइरहेको उद्धार तथा राहत प्रयासबारे पछिल्लो अवस्थाका विषयमा छलफल गरेका छन्।

जयशंकरले नेपालमा आवश्यक पर्ने थप राहत सामग्री पठाउने तयारीबारे समेत भारतीय विदेश मन्त्रालयका सम्बन्धित निकायबाट जानकारी लिएका छन्। नेपालमा देखिएको विपद्को अवस्थालाई भारतले प्राथमिकताका साथ हेरिरहेको उनले बताएका छन्।

सामाजिक सञ्जालमार्फत जयशंकरले काठमाडौं र बेइजिङस्थित भारतीय दूतावासबाट नेपालमा रहेका भारतीय नागरिकको अवस्था तथा उनीहरूको सुरक्षासम्बन्धी पछिल्लो जानकारी प्राप्त भएको उल्लेख गरेका छन्।

नेपालमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि भारतले उद्धार, राहत तथा मानवीय सहयोगमा सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै आएको छ। आवश्यकताअनुसार थप राहत सामग्री उपलब्ध गराउने तयारीसमेत भइरहेको भारतीय पक्षले जनाएको छ।

नेपालमा रहेका आफ्ना नागरिकको अवस्थाबारे नियमित जानकारी लिँदै उनीहरूको सुरक्षालाई प्राथमिकतामा राखिएको पनि जयशंकरले बताएका छन्।

४८९ शव फेला, थप तयारी तीव्र

काठमाडौं। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि ज्यान गुमाएका ४८९ जनाको शव फेला परेको छ।

बाढी प्रभावित विभिन्न क्षेत्रमा शव भेटिने क्रम जारी रहेकाले व्यवस्थापनका लागि आवश्यक सामग्रीको समेत तयारी तीव्र पारिएको छ।

शव सुरक्षित र व्यवस्थित रूपमा राख्न नेपाल रेडक्रस सोसाइटीले गृह मन्त्रालयलाई हालसम्म १ हजार ४४० वटा शव प्याक गर्ने झोला उपलब्ध गराएको छ। तर, शव फेला पर्ने क्रम बढेसँगै थप झोलाको आवश्यकता देखिएपछि भारत सरकारबाट समेत सहयोग लिन लागिएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले रेडक्रसबाट शव व्यवस्थापनका लागि आवश्यक झोला प्राप्त भइसकेको जानकारी दिँदै मौज्दात बढाउन भारत सरकारसँग सहयोग लिन लागिएको बताएका छन्।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशाल भण्डारीका अनुसार शुक्रबार झापाबाट थप ४ सय शव व्यवस्थापन झोला ल्याइँदैछ। ती झोला नवलपरासी, धादिङ र चितवनमा फेला परेका शव व्यवस्थापनमा प्रयोग गरिनेछ।

रेडक्रसले आफ्नो केन्द्रीय कार्यालयबाट समेत थप शव व्यवस्थापन झोला मगाउने प्रक्रिया अघि बढाएको भण्डारीले बताए।

प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रमा शव फेला पर्ने क्रम बढिरहेकाले आवश्यक सामग्रीको मौज्दात पर्याप्त राख्नुपर्ने अवस्था आएको छ।

उनका अनुसार आगामी दिनमा थप कति शव फेला पर्छन् भन्ने यकिन गर्न सकिने अवस्था छैन।

तर खोजी तथा उद्धारका क्रममा शव भेटिने क्रम तीव्र रहेकाले सम्भावित अवस्थालाई ध्यानमा राखेर ठूलो संख्यामा शव व्यवस्थापन गर्न आवश्यक तयारी भइरहेको छ।

भोटेकोशी बाढीमा फसेका ११७ पर्यटकको उद्धार

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा अलपत्र परेका ११७ जना विदेशी पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएकामध्ये ८५ जना भारतीय, १६ जना चिनियाँ र ९ जना कोरियाली पर्यटक रहेका छन्।

 त्यस्तै, दुई जना अमेरिकी र दुई जना इटालियन पर्यटकको समेत उद्धार गरिएको बोर्डले जनाएको छ। उद्धार गरिएका बाँकी तीन पर्यटकको राष्ट्रियता तथा पहिचान भने खुल्न सकेको छैन।

बाढीका कारण अझै ६ सयभन्दा बढी पर्यटक सम्पर्कविहीन रहेको बताइएको छ। विशेषगरी कैलाश मानसरोवर यात्राका लागि हिँडेका ठूलो संख्याका पर्यटक सम्पर्कविहीन रहेको ट्रेकिङ तथा टुर कम्पनीहरूले जनाएका छन्। 

बाढी र पहिरोका कारण सडक तथा यातायातका मार्ग अवरुद्ध हुँदा उनीहरूको खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ। सम्पर्कविहीन पर्यटकको अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायले खोजी तथा उद्धार प्रयास तीव्र बनाएको छ।

रसुवा अस्पतालमा अत्यावश्यक सामग्रीको अभाव, स्यानिटाइजरदेखि टेन्ट र पावर बैंकसम्म आवश्यक

रसुवा। बाढी तथा पहिरोबाट प्रभावित रसुवा अस्पतालमा उपचार तथा उद्धार कार्यका लागि विभिन्न अत्यावश्यक सामग्रीको आवश्यकता परेको छ।

अस्पतालले स्यानिटाइजर, ह्यान्डवास, स्यानिटरी प्याड, भिजेको टिस्यु, लामखुट्टेबाट बच्ने धुप तथा झुल, पानीका बोतल, थर्मस, टेन्ट र पावर बैंक तत्काल आवश्यक रहेको जनाएको छ।

विपद्का कारण अस्पतालमा बिरामी तथा प्रभावितको चाप बढिरहेका बेला सरसफाइ, स्वास्थ्य सुरक्षा तथा दैनिक प्रयोगका सामग्रीको आवश्यकता थप बढेको हो। विशेषगरी बाढी तथा पहिरो प्रभावित क्षेत्रमा लामखुट्टेको जोखिम बढ्न सक्ने भएकाले धुप र झुलजस्ता सामग्री पनि आवश्यक रहेको अस्पतालले जनाएको छ।

त्यस्तै, विद्युत् तथा सञ्चार सेवामा समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै पावर बैंक, टेन्ट र थर्मस लगायतका सामग्रीलाई समेत अत्यावश्यक सूचीमा राखिएको छ।

रसुवा अस्पतालले विपद्को अवस्थामा स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न सहयोग आवश्यक रहेको भन्दै सम्बन्धित निकाय, संघसंस्था तथा सहयोगी व्यक्तिहरूलाई अत्यावश्यक सामग्री उपलब्ध गराउन आग्रह गरेको छ।

अस्पतालका अनुसार हाल तत्काल आवश्यक सामग्रीहरू:

  • स्यानिटाइजर
  • ह्यान्डवास
  • स्यानिटरी प्याड
  • भिजेको टिस्यु
  • लामखुट्टे धुप
  • झुल
  • पानीका बोतल
  • थर्मस
  • टेन्ट
  • पावर बैंक

भोटेकोशीमा बाढी बढेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं। रसुवामा भोटेकोशी नदीको बहाव निरन्तर बढिरहेको भन्दै त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले शुक्रबार सूचना जारी गर्दै त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना नआएसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरेको हो।

महाशाखाका अनुसार रसुवामा भोटेकोशी नदीमा बाढी बढिरहेको र यसको प्रभाव त्रिशूली नदीको बहावमा पर्न सक्ने भएकाले नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा जोखिम बढेको छ।

नदीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै तटीय क्षेत्रमा रहेका सर्वसाधारणलाई नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनालाई पालना गर्न आग्रह गरिएको छ।

पछिल्लो समय नेपाल-चीन सीमावर्ती क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण भोटेकोशी र त्रिशूली नदीको जलसतहमा उतारचढाव भइरहेको छ। यसैबीच भोटेकोशीमा बाढी बढेपछि त्यसको प्रत्यक्ष प्रभाव त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन भनेको हो।

बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नगरेसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन विशेष अनुरोध गरेको छ।

ब्यारियर लेकमा विशेष निगरानी गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङको निर्देशन

काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङले बाढी र पहिरोपछि बनेको नयाँ अवरोध ताल (ब्यारियर लेक) तथा आसपासको क्षेत्रमा विशेष निगरानी राख्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का वरिष्ठ नेताहरूको शुक्रबार बसेको बैठकमा राष्ट्रपति सीले उद्धार तथा राहत कार्यसँगै अवरोध तालबाट थप विपद् निम्तिन सक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका हुन्।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीले पहिरोका कारण बनेको ताल र आसपासका पहाडको स्थिरतामाथि निरन्तर निगरानी राख्न तथा थप विपद् हुन नदिन प्रभावकारी र कडा उपाय अपनाउन निर्देशन दिएका छन्।

बैठकको विवरणमा सीले भनेका छन्, ‘पहिरोका कारण बनेको ताल र आसपासका पहाडको स्थिरतामा नजिकबाट निगरानी राख्नुपर्छ र थप विपद् हुन नदिन प्रभावकारी उपायहरू कडाइका साथ अपनाउनुपर्छ।’

राष्ट्रपति सीको यस्तो निर्देशन तालले बाँध नाघेर पानी बग्न थालेको पछिल्लो घटना सार्वजनिक हुनुअघि दिइएको बताइएको छ। बुधबार नेपाल–तिब्बत सीमा क्षेत्रमा गएको शक्तिशाली बाढीपछि पहिरोका कारण बनेको उक्त अवरोध तालमा पानीको सतह बढ्दै गएपछि ओभरफ्लो हुन थालेको हो।

तालबाट पानी बाहिरिन थालेसँगै आसपासका क्षेत्रमा थप पहिरो तथा आकस्मिक बाढीको जोखिम बढेको छ। यसले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा जारी उद्धार र राहत कार्यलाई समेत थप चुनौतीपूर्ण बनाएको छ।

उच्च हिमाली भूभागमा रहेका हिमनदी, हिमताल, भिराला पहाड र कमजोर भू–संरचनाका कारण उद्धार कार्य कठिन बनेको चिनियाँ पक्षले जनाएको छ। त्यसमाथि मौसममा भइरहेको परिवर्तनले पनि जोखिम थप बढाएको बताइएको छ।

सिन्ह्वाका अनुसार राष्ट्रपति सीले विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकमा सहभागी सबैलाई एक मिनेट मौनधारण गर्नसमेत आग्रह गरेका थिए।

बैठकको विवरणमा पछिल्लो विपद् उच्च हिमाली तथा चिसो क्षेत्रमा, भिराला उपत्यका र परिवर्तनशील मौसमका बीच भएको उल्लेख गरिएको छ। उक्त क्षेत्रमा धेरै हिमनदी, हिमताल तथा सम्भावित भौगर्भिक जोखिम रहेकाले उद्धार, खोजी तथा राहत कार्य निकै कठिन रहेको चिनियाँ पक्षको भनाइ छ।

चीनले बिहीबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार तिब्बततर्फ बाढी तथा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन्। बेपत्ताको खोजी तथा उद्धारका लागि चिनियाँ अधिकारीहरूले विभिन्न टोली परिचालन गरेका छन्।

यसैबीच, बिहीबार दिउँसो चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालतर्फ पनि १०० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका थिए।

बुधबार नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा गएको विनाशकारी बाढीले नेपालतर्फ पनि ठूलो जनधनको क्षति गरेको छ। पछिल्लो विवरणअनुसार नेपालमा बाढी, पहिरो तथा त्यसबाट उत्पन्न दुर्घटनामा परी ४८९ जनाको मृत्यु पुष्टि भएको छ। खोज तथा उद्धार कार्य अझै जारी रहेकाले मृतक र बेपत्ताको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

अवरोध तालबाट पानीको बहाव बढ्दै गएको अवस्थामा नेपालतर्फ पनि त्रिशूली तथा भोटेकोशी नदी आसपासका बस्तीमा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढीका कारण फसेका ३ हजार २ सय ५३ जनाको उद्दार सम्पन्न

काठमाडाैं। बाढीका कारण विभिन्न ठाउँमा फसेका ३ हजार २५३ जनाको उद्धार गरिएको छ। रसुवामा आएको बाढी र पहिरोका कारण विभिन्न स्थानमा फसेका नागरिकको उद्धार कार्य तीव्र पारिएको छ। विपद्का कारण सडक तथा स्थानीय आवागमन अवरुद्ध भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धार टोली परिचालन भएका छन्।

कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद उद्धारकर्मीहरूले जोखिम मोलेर फसेका नागरिकलाई सुरक्षित स्थानमा ल्याइरहेका छन्।उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै आवश्यक राहत तथा खानाको व्यवस्थासमेत मिलाउने प्रयास भइरहेको छ। बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन सुरक्षाकर्मी तथा स्थानीय प्रशासनले निगरानी बढाएका छन्।

जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। साथै, अवरुद्ध सडक तथा सञ्चार सम्पर्क पुनः सञ्चालनका लागि सम्बन्धित निकायले काम गरिरहेका छन्। विपद्का कारण थप समस्या आउन सक्ने भएकाले नागरिकलाई सतर्क रहन र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरिएको छ। प्रभावित क्षेत्रमा तथा उद्धार कार्यलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ।

तत्काल ठूलो जोखिम छैन : सरकार

काठमाडाैं। चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक जमेको ठूलो तालमा रहेका ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो भएको सरकारले जनाएको छ। यद्यपि, तत्काल ठूलो जोखिमको अवस्था नरहेको सरकारको भनाइ छ।

बिहीबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले चीनतर्फको अवस्थाबारे जानकारी गराएका हुन्। उनका अनुसार ताल फुटेको भन्दा पनि आसपासका ग्ल्यासियर फुटेका कारण पानीमा लेदो मिसिएर ओभरफ्लो भएको हो।

उनले चीन सरकारसँग परराष्ट्र मन्त्रालयमार्फत निरन्तर सम्पर्क र समन्वय भइरहेको बताए। चिनियाँ पक्षबाट प्राप्त सूचनाअनुसार तत्काल ठूलो जोखिम नरहेको जानकारी आएको उनको भनाइ छ।

‘परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ। त्यहाँबाट पनि त्यस्तो ठूलो जोखिम नरहेको जानकारी आइरहेको छ। यद्यपि सबैलाई सतर्क रहन आग्रह गर्न चाहन्छु,’ प्रवक्ता पोखरेलले भने।

सरकारका अनुसार अहिलेसम्म बाँध वा ड्याम फुटेको पुष्टि भएको छैन। सामान्य रूपमा ग्ल्यासियर फुट्दा ठूलो परिमाणमा पानी र लेदो बगेर ओभरफ्लो भएको प्रवक्ता पोखरेलले स्पष्ट पारे।

‘कतै ड्याम फुटेको भन्ने छैन। सामान्य ग्ल्यासियरहरू फुटेका कारण धेरै ठाउँमा पानी लेदोसहित ओभरफ्लो भएको हो,’ उनले भने, ‘तत्काल त्यस्तो ठूलो जोखिम देखिएको छैन। तर सावधानी र सतर्कता अपनाउन आवश्यक छ।’

सरकारले तत्काल ठूलो जोखिम नरहेको बताए पनि चीनतर्फको हिमताल तथा ग्ल्यासियर फुट्ने घटनाबाट अचानक नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

त्रिशूली-३ ‘ए’को सुरुङमा ३५ कर्मचारी उद्वारको पर्खाइमा

काठमाडाैं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत पावरहाउस तथा सुरुङभित्र नेपाल विद्युत् प्राधिकरणका करिब ३५ कर्मचारी फसेको बताइएको छ।

नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा कालीगण्डकी–७ निवासी उदयराज भट्टराईका अनुसार सुरुङभित्र रहेका कर्मचारीको अवस्था जोखिमपूर्ण बन्दै गएको छ। सुरुङभित्र अक्सिजनको कमी हुँदै गएकाले उनीहरूको जीवन थप जोखिममा परेको बताइएको छ।

यसअघि पनि त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा कर्मचारी तथा कामदार फसेको विवरण सार्वजनिक भएको थियो। शुक्रबार बिहान सुरुङबाट चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पठाइएको सेनाले जनाएको छ। उद्धारका लागि नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा हेलिकप्टर परिचालन गरिएको बताइएको छ।

यद्यपि, अझै सुरुङभित्र रहेका अन्य कर्मचारीको उद्धार चुनौतीपूर्ण बनेको छ। सुरुङको प्रवेशद्वारमा बाढी तथा पहिरोका कारण क्षति पुगेपछि उद्धार कार्य कठिन भएको बताइएको छ।

उद्धारमा ढिलाइ हुँदा सुरुङभित्र अक्सिजनको अवस्था र अन्य जोखिमलाई लिएर चिन्ता बढेको छ। यस्तो अवस्थामा उद्धार कार्यलाई उच्च प्राथमिकतामा राख्दै उपलब्ध सबै स्रोतसाधन परिचालन गर्न माग गरिएको छ।

यसअघि माथिल्लो त्रिशूली आयोजनाको सुरुङमा फसेका ३५० जनालाई नेपाली सेनाले उद्धार गरेको थियो।

बाढीमा फसेकाको उद्धार गर्न आङ्देम्बेको आग्रह

नुवाकोट। प्रमुख प्रतिपक्षी नेता भीष्मराज आङ्देम्बेले गृहमन्त्री सुधन गुरूङलाई बाढी प्रभावित नागरिकको उद्धार कार्य तीव्र पार्न सुझाव दिएका छन्।

नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा गृहमन्त्री गुरूङसँग शुक्रबार मध्याह्न भेट गर्दै आङ्देम्बेले रसुवा, नुवाकोट र धादिङका थुप्रै बाढी प्रभावित नागरिक अभरमा परेको खबर प्राप्त भएको भन्दै पूर्ण क्षमतासहित उद्धारमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

‘विभिन्न ठाउँबाट उद्धारका लागि याचना भइरहेको छ,’ उनले गृहमन्त्री गुरूङलाई भने, ‘सरकार पूरै उद्धारमै केन्द्रित होस् । हामी पनि सक्दो सहयोग गर्छौं।’

नेता आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि आवश्यक उद्धार कार्यलाई प्राथमिकता दिन आग्रह गर्ने बताए।

‘म प्रधानमन्त्रीजीलाई पनि भन्नुपर्ने भन्छु,’ उनले भने, ‘यो विपद्मा हामी सबैको पहिलो दायित्व बाँचेकाको छिटो उद्धार गर्नु नै हो।’

उनका अनुसार रसुवाको स्याप्रुवेशी, टिमुरे, धुञ्चे तथा नुवाकोटको कोलोनी, विदुर नगरपालिकाका वडा नम्बर १, ४ र १० लगायत क्षेत्रमा थुप्रै नागरिक फसेका छन्। उनीहरूको हवाई उद्धार आवश्यक भएकाले ढिलाइ गर्न नहुने उनले बताए।

उनले उद्धार नै पहिलो प्राथमिकता हुनुपर्ने भन्दै अनावश्यक रूपमा पटकपटक जिल्ला विपद् व्यवस्थापन समितिको बैठक राख्न नहुने बताए।

कांग्रेसकै अर्का सांसद टेकबहादुर गुरूङले बाढी प्रभावित क्षेत्रका सडक अवरुद्ध भएकाले शीघ्र पुनर्निर्माण गरी उद्धार कार्य प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

स्थलगत निरीक्षणमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बासना थापा, सांसदहरू खडकबहादुर बुढा र डा. शाहजान खातुन तथा कांग्रेस नुवाकोट सभापति रमेश महत गएका थिए।

उनीहरूले नुवाकोटको विदुर नगरपालिकास्थित ढुङ्गे बजार, देवीघाटलगायत बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं। सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकबाट भएका निर्णयहरू सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद्ले रसुवागढी तथा भोटेकोशी नदी र त्यसको तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित व्यक्ति तथा व्यवसायलाई राहत दिन विशेष पुनर्स्थापना प्याकेज तयार गर्ने निर्णय गरेको छ।

बाढीका कारण क्षति पुगेका व्यवसाय तथा प्रभावित व्यक्तिलाई लक्षित गरी सहुलियत र पुनःस्थापनासहितको ‘बिजनेस रिकभरी प्याकेज’ तयार गर्न अर्थ मन्त्रालयलाई जिम्मेवारी दिइएको छ। उक्त प्याकेजमार्फत विपद्बाट प्रभावित व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक सहयोग र सहुलियत उपलब्ध गराउने सरकारको तयारी छ।

त्यसैगरी, सरकारले भारतबाट सरकारी तहमा हुने जीटूजी प्रक्रियामार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिएको छ। कृषि प्रयोजनका लागि आवश्यक रासायनिक मलको आपूर्ति सहज बनाउने उद्देश्यले उक्त निर्णय गरिएको हो।

मन्त्रिपरिषद्ले भदौ १० गते रसुवागढी तथा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ।

बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत तल्लो तटीय जिल्लामा ठूलो क्षति पुर्‍याएको छ।

प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि सरकारी संयन्त्र परिचालन भइरहेको सरकारले जनाएको छ।

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री र सबै मन्त्रीको एक महिनाको तलब तथा पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ १० गते नेपाल-चीन सीमा क्षेत्र तथा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिनेछ।

बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। विपद्पछि प्रभावितको खोज तथा उद्धार, राहत वितरण र विस्थापित परिवारको व्यवस्थापनमा राज्यका विभिन्न संयन्त्र परिचालन भइरहेका छन्।

सरकारले विपद् प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउने तथा क्षतिको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरिरहेको जनाएको छ।

प्रधानमन्त्री र मन्त्रीहरूको पारिश्रमिक सहयोगले विपद् व्यवस्थापनका लागि सरकारी कोषमा थप रकम जुटाउने अपेक्षा गरिएको छ।

तिब्बतमा फेरि ताल फुट्यो, स्याफ्रुबेँसीदेखि मुग्लिनसम्म चेतावनी

काठमाडौं। नेपाल-चीन सीमापारि तिब्बतमा पहिरोका कारण थुनिएर बनेको कृत्रिम ताल पुनः फुटेपछि आएको बाढीको बहाव रसुवाको स्याफ्रुबेँसीसम्म आइपुगेको छ।

अचानक पानीको बहाव बढेपछि भोटेकोशी र त्रिशूली नदी आसपासका बस्तीमा फेरि जोखिम बढेको छ।

बाढी पूर्वानुमान महाशाखाले पानीको बहावले त्रिशूली नदीको तटीय क्षेत्रमा समेत असर पार्न सक्ने भन्दै मुग्लिनसम्मका नदी किनारमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदीको सतह र बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा नजान तथा सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ।

तिब्बतको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा पहिरोका कारण नदी थुनिएर बनेको तालमा पानीको मात्रा बढेपछि त्यसबाट ठूलो परिमाणमा पानी बाहिरिएको बताइएको छ। ताल फुटेसँगै पानी तीव्र गतिमा नेपालतर्फ बग्न थालेपछि स्याफ्रुबेँसीसहित भोटेकोशी नदी आसपासका क्षेत्रमा यसको प्रभाव देखिएको हो।

यसअघि भदौ १० गते आएको विनाशकारी बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति गरेको थियो। सोही विपद्पछि तिब्बततर्फ ल्हेन्दे खोला पहिरोले थुनिँदा कृत्रिम ताल बनेको थियो। उक्त तालमा पानीको सतह बढ्दै गएपछि पुनः फुट्न सक्ने जोखिमबारे नेपाली पक्षलाई सचेत गराइएको थियो।

दोस्रोपटक ठूलो पानीको बहाव नेपालतर्फ आउन थालेपछि स्थानीय प्रशासन र सुरक्षा निकायले नदी आसपासको अवस्थालाई नजिकबाट निगरानी गरिरहेका छन्। यसअघि नै प्रहरीले भोटेकोशी र त्रिशूली नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आपत्कालीन सूचना जारी गरेको थियो।

प्रशासनले नदीको बहाव बढिरहेको अवस्थामा नदी किनारमा जाने, पुल तथा जोखिमपूर्ण स्थानमा उभिने वा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह, सुरक्षा निकाय र विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई आवश्यक तयारी अवस्थामा राखिएको छ।

पहिलो बाढीबाट प्रभावित क्षेत्र पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन नपाउँदै पुनः बाढीको जोखिम बढेपछि स्थानीय बासिन्दामा त्रास थपिएको छ।

विशेषगरी भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा रहेका बस्ती तथा संरचनामा थप क्षति हुन सक्ने भएकाले नागरिकलाई आधिकारिक सूचना पछ्याउन आग्रह गरिएको छ।

कैलाश यात्रामा गएका ६४४ जना सम्पर्कविहीन

काठमाडौं। रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि कैलाश मानसरोवर यात्रामा रहेका ६४४ जना यात्रु तथा उनीहरूसँग सम्बन्धित व्यक्तिहरू सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।

प्राप्त नामावलीअनुसार सम्पर्कविहीन हुनेमा १२७ जना नेपालीसहित विभिन्न देशका नागरिक रहेका छन्। तीमध्ये भारतीय नागरिकको संख्या सबैभन्दा धेरै १७८ रहेको बताइएको छ।

कैलाश मानसरोवर यात्राका लागि विभिन्न ट्राभल्स कम्पनीमार्फत रसुवा पुगेका यात्रुहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्। उनीहरूको अवस्थाबारे यकिन जानकारी लिन सम्बन्धित निकायले खोजी तथा समन्वयको काम अघि बढाइरहेका छन्।

बालुवाटारस्थित ऋचा टुर्स एण्ड ट्राभल्समार्फत कैलाश मानसरोवर यात्रामा गएका ६८ जना पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ। तीमध्ये जी इन्टरटेन इन्टरप्राइजेजका पूर्वप्रमुख कार्यकारी अधिकृत अतुल दास र उनकी पत्नी पायल दाससमेत रहेको बताइएको छ।

ऋचा टुर्स एण्ड ट्राभल्सका समीर गाइजुका अनुसार उक्त समूहमा ६१ जना भारतीय नागरिक, सात जना गैरआवासीय भारतीय (एनआरआई) तथा १८ जना ट्रेक्सका कर्मचारीसमेत सम्पर्कविहीन छन्। यात्रुहरू बाढी आउनुअघि रसुवाको टिमुरे क्षेत्रमा रहेको बताइएको छ।

उनीहरू टिमुरेस्थित याङ्गिला होटल एण्ड लजमा बसेका थिए। बुधबार बिहान करिब ८ बजेसम्म उनीहरू सम्पर्कमा रहेको र त्यसपछि भने कुनै जानकारी प्राप्त हुन नसकेको जनाइएको छ।

त्यस समयमा यात्रुहरूले टिमुरेमा अध्यागमनसम्बन्धी पासको प्रक्रिया अघि बढाइरहेको जानकारी गराएका थिए। त्यसपछि भोटेकोशी क्षेत्रमा आएको बाढी र पहिरोका कारण नेपाल–चीन सीमावर्ती क्षेत्रमा आवागमन तथा सञ्चार सम्पर्क प्रभावित भएपछि उनीहरूसँग सम्पर्क टुटेको बताइएको छ।

बाढीका कारण रसुवाको टिमुरे, केरुङ नाका आसपास तथा सीमावर्ती क्षेत्रमा ठूलो क्षति पुगेको छ। सडक तथा पुललगायतका पूर्वाधारमा क्षति पुगेपछि यात्रुहरूको खोजी तथा उद्धारमा समेत कठिनाइ भइरहेको छ।

सम्पर्कविहीन यात्रुहरूको विवरण संकलन तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित नेपाली निकाय, ट्राभल्स कम्पनी र विदेशी दूतावासहरूबीच समन्वय भइरहेको छ।

यसबीच बेपत्ता यात्रुहरू सुरक्षित रहेको वा उनीहरूलाई उद्धार गरिएकोबारे आधिकारिक विवरणको प्रतीक्षा भइरहेको छ।

ठूलो ताल फुट्यो, सुरक्षित रहनुस् : सिडियो रसुवा

रसुवा। चीनको तिब्बत क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास पहिरोका कारण बनेको ठूलो ताल फुटेको जानकारी आएको छ।

ताल फुटेपछि त्यसबाट निस्किएको पानीले तल्लो तटीय क्षेत्रमा थप बाढीको जोखिम बढाएको आशंका गरिएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी प्राप्त भएको हो।

ताल फुटेपछि पानीको बहाव बढ्न सक्ने भएकाले नेपालतर्फ समेत जोखिमको अवस्था उत्पन्न हुन सक्ने भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाएको छ।

चीन-नेपाल सीमावर्ती क्षेत्रमा पछिल्ला दिनमा लगातार वर्षा, पहिरो र बाढीका कारण अवस्था अत्यन्त संवेदनशील बनेको छ।

पहिरोका कारण खोला तथा नदीको बहाव अवरुद्ध हुँदा विभिन्न स्थानमा अस्थायी ताल बनेका थिए। ती तालमा पानीको मात्रा बढ्दै गएपछि कुनै पनि बेला फुट्न सक्ने जोखिम रहेको भन्दै चिनियाँ पक्षले समेत उच्च सतर्कता अपनाउँदै आएको थियो।

ताल फुटेसँगै ठूलो परिमाणमा पानी तल्लो क्षेत्रमा बग्न थालेको हुन सक्ने भएकाले नदी तथा खोलाको तटीय क्षेत्रमा थप जोखिम बढेको प्रशासनको आकलन छ।

विशेषगरी सीमावर्ती क्षेत्र हुँदै नेपालतर्फ आउने नदी तथा खोलामा एक्कासि पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसअघि पनि चीनको तिब्बत क्षेत्रमा पहिरोका कारण बनेका ताल तथा पानीको बहावका कारण बाढीको जोखिम बढेको थियो।

कृत्रिम ताल फुट्ने जोखिम बढेपछि केरुङमा उद्धार रोकियो

काठमाडौं। नेपाल–चीन सीमावर्ती तिब्बतको जिरोङ (केरुङ) क्षेत्रमा पहिरोले नदी थुनिएर बनेको कृत्रिम ताल फुट्ने जोखिम बढेपछि चिनियाँ पक्षले तत्कालका लागि उद्धार अभियान रोकेको छ।

गत बुधबार आएको भीषण पहिरो, लेदो र बाढीले केरुङ नाका आसपास ठूलो क्षति पुर्‍याएको थियो। पहिरोका कारण नदीको बहाव रोकिएपछि बनेको तालमा लगातार पानी जम्मा भइरहेकाले जलस्तर उच्च बिन्दुमा पुगेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

वर्षा नरोकिए तालको पानी जुनसुकै बेला बाहिर निस्कन सक्ने वा बाँध फुट्न सक्ने जोखिम रहेको भन्दै उद्धारमा खटिएका टोलीलाई सुरक्षित स्थानमा सारिएको हो। चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमहरूले उद्धारकर्मीको सुरक्षालाई प्राथमिकता दिँदै तत्कालका लागि अभियान रोकिएको जनाएका छन्।

ताल फुटेमा त्यसको प्रत्यक्ष असर तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले चिनियाँ अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा मानिसको आवतजावतमा समेत कडाइ गरेका छन्। अहिले जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा पानीको सतह, वर्षाको अवस्था र सम्भावित बहावबारे निरन्तर निगरानी भइरहेको छ।

यसैबीच, बाढीपहिरोका कारण तिब्बततर्फ ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएका छन्। प्राप्त विवरणअनुसार ५५० भन्दा बढी मानिस बेपत्ता रहेको र तीमध्ये करिब २६० जना विदेशी पर्यटक तथा तीर्थयात्री रहेको बताइएको छ। कैलाश–मानसरोवर यात्रामा रहेका तीर्थयात्रीहरूमध्ये पनि केही सम्पर्कविहीन भएको जनाइएको छ।

केरुङ क्षेत्रमा भएको विपद्को असर नेपालतर्फ पनि गम्भीर रूपमा परेको छ। सीमावर्ती क्षेत्रमा आएको बाढीले भौतिक संरचना, सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्‍याउनुका साथै भोटेकोशी हुँदै नेपालतर्फ ठूलो जनधनको क्षति भएको छ।

चिनियाँ अधिकारीहरूले आगामी केही दिनमा पनि भारी वर्षा हुन सक्ने भएकाले जोखिम थप बढ्न सक्ने आकलन गरेका छन्। त्यसैले कृत्रिम तालको अवस्था स्थिर नभएसम्म उद्धार तथा अन्य गतिविधि सञ्चालनमा थप सावधानी अपनाइने भएको छ।

तालको पानी सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिने अवस्था बनेपछि मात्रै उद्धार अभियान पुनः सञ्चालन गर्ने तयारी चिनियाँ पक्षको छ।

अहिले भने सम्भावित थप क्षति रोक्न र उद्धारकर्मी तथा स्थानीयको सुरक्षा सुनिश्चित गर्न जोखिम क्षेत्रमा निगरानीलाई प्राथमिकता दिइएको छ।

नेपालबाट बगेका आशंका गरिएका ७ शव भारतको गण्डक नदीमा भेटिए

काठमाडौं । नेपालमा आएको भीषण बाढीपछि नदीमा बगेका मानिसका शव भारतको गण्डक (नारायणी) नदीसम्म पुगेका छन्। भारतको उत्तर प्रदेशअन्तर्गत महराजगंजमा चार र कुशीनगरमा तीन गरी सातवटा शव फेला परेका हुन्।

भारतीय अधिकारीका अनुसार भेटिएका शवमध्ये पाँच महिला र दुई पुरुषका छन्। गण्डक नदीमा निगरानी गरिरहेका सशस्त्र सीमा बल (एसएसबी) का उद्धार टोलीले शवहरू बगिरहेको अवस्थामा देखेपछि मोटरबोटको प्रयोग गरेर नदीबाट बाहिर निकालेका थिए।

महराजगंजमा फेला परेका चार शवमध्ये तीन महिला र एक पुरुषको रहेको निचलौल तहसीलका उपजिल्लाधिकारी सिद्धार्थ गुप्ताले बताएका छन्। उनका अनुसार नदीको बहाव माथिल्लो क्षेत्र अर्थात् नेपालतर्फबाट आएकाले ती शव नेपालमा आएको बाढीमा बगेको हुन सक्ने सम्भावना बलियो छ।

कुशीनगरमा भेटिएका तीन शवमा दुई महिला र एक पुरुष छन्। शवलाई सुरक्षित राख्न फ्रिजरमा राखिएको र पहिचानको प्रक्रिया अघि बढाइएको कुशीनगरका अतिरिक्त प्रहरी उपरीक्षक सिद्धार्थ वर्माले बताएका छन्।

शवको सनाखत तथा आफन्तको खोजीका लागि महराजगंज र कुशीनगर प्रशासनले नेपालका सम्बन्धित निकायसँग सम्पर्क र समन्वय गरिरहेको छ। भारतीय सुरक्षा तथा उद्धार टोलीले गण्डक नदी र आसपासका क्षेत्रमा निगरानीसमेत बढाएका छन्।

महराजगंज क्षेत्रमा एसडीआरएफ, आरआरटी र एसएसबीका टोली परिचालन गरेर नदी किनार तथा बहाव क्षेत्रमा निरन्तर निगरानी भइरहेको भारतीय प्रशासनले जनाएको छ।

नेपालमा बाढीका कारण ठूलो मानवीय क्षति भएको र नदीको बहाव तीव्र रहेकाले आगामी दिनमा थप शव भारतीय भूभागतर्फ बगेर आउन सक्ने सम्भावनाबारे समेत अधिकारीहरूले सतर्कता अपनाएका छन्।

भारतीय प्रशासनले नेपालतर्फका सम्बन्धित निकायसँग समन्वय गरी फेला परेका शवको पहिचान गर्ने तथा सम्भावित आफन्तसम्म सूचना पुर्‍याउने प्रक्रिया अघि बढाएको छ।

रसुवाको हाइड्रो सुरुङमा उद्धार जारी, दुई जनालाई सकुशल निकालियो

काठमाडौं। बाढीका कारण रसुवाको एक जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारमा नेपाली सेनाले बिहानैदेखि विशेष अभियान सञ्चालन गरिरहेको छ।

जोखिमपूर्ण भूगोल र सुरुङभित्रको कठिन अवस्थाबीच सेनाको उद्धार टोलीले दुई जनालाई सुरक्षित रूपमा बाहिर निकालिसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सुरुङभित्र अझै मानिसहरू फसेको हुन सक्ने भएकाले सेनाले खोजीलाई निरन्तरता दिएको छ। सुरुङमा कति जना व्यक्ति रहेका छन् भन्नेबारे पनि यकिन विवरण संकलन भइरहेको छ।

उद्धारका क्रममा विशेष तालिम प्राप्त जनशक्तिसँगै आवश्यक प्राविधिक उपकरण प्रयोग गरिएको छ। सुरुङको साँघुरो र जोखिमयुक्त अवस्थालाई ध्यानमा राख्दै सेनाको टोलीले चरणबद्ध रूपमा सम्भावित स्थानमा खोजी गरिरहेको छ।

बाढीले जलविद्युत् आयोजनाका विभिन्न संरचनामा क्षति पुर्‍याएकाले उद्धारका क्रममा थप जोखिमको मूल्यांकनसमेत भइरहेको छ।

सुरुङभित्र रहेका अन्य व्यक्तिलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाली सेनाको टोली निरन्तर परिचालित रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

 

व्यक्तिगत राहत बोकेर आफैँ नजान आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत वितरणलाई व्यवस्थित बनाउन प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को सचिवालयले स्वयंसेवी, सामाजिक संस्था तथा सहयोग गर्न चाहने सबैलाई सरकारी संयन्त्रसँग समन्वय गरेर मात्रै प्रभावित क्षेत्रमा जान आग्रह गरेको छ।

विपद्को समयमा पीडितलाई सहयोग गर्ने नागरिक तथा संघसंस्थाको तत्परताको प्रशंसा गर्दै सचिवालयले व्यक्तिगत रूपमा साना सवारीसाधनमा थोरै–थोरै राहत सामग्री बोकेर प्रभावित क्षेत्रमा जाने क्रम बढ्दा समस्या सिर्जना भएको जनाएको छ।

राहत लिएर जाने सवारीको संख्या बढ्दा सडकमा जाम हुने र त्यसको प्रत्यक्ष असर उद्धार अभियानमा परेको सचिवालयको भनाइ छ। विशेषगरी आपत्कालीन बिरामी बोकेका एम्बुलेन्स तथा उद्धारमा खटिएका सरकारी सवारीलाई गन्तव्यसम्म पुग्नसमेत कठिन भइरहेको जनाइएको छ।

सरकारले प्राथमिकताका आधारमा परिचालन गरेका उद्धार टोली र अत्यावश्यक राहत सामग्री बोकेका सवारीसाधनसमेत सडक अवरोधका कारण समयमा प्रभावित क्षेत्रमा पुग्न नसकेको सचिवालयले जनाएको छ।

त्यसैगरी, बाढीपछि भौगोलिक अवस्था जोखिमपूर्ण रहेकाले पर्याप्त तयारी र जानकारीबिना प्रभावित क्षेत्रमा पुग्दा स्वयंसेवक तथा राहतदाताको ज्यानसमेत जोखिममा पर्न सक्ने सचिवालयले चेतावनी दिएको छ।

सहयोग गर्ने नाममा उद्धार र राहत अभियान नै अस्तव्यस्त नहोस् भन्ने उद्देश्यले व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा नजान सचिवालयले आग्रह गरेको छ। राहत वा उद्धारमा सहभागी हुन चाहने व्यक्ति तथा संस्थाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग पहिले सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्री र जनशक्तिको पहिचान गरी प्राथमिकताका आधारमा संकलन तथा परिचालन गर्नेछ। यसरी प्राप्त राहत सामग्रीलाई आवश्यकताअनुसार सम्बन्धित स्थानमा पुर्‍याउने व्यवस्था मिलाइने सचिवालयले जनाएको छ।

विपद्को समयमा नागरिक र विभिन्न संस्थाले देखाएको सहयोगी भावना महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्री सचिवालयले राहत वितरणलाई व्यक्तिगत प्रयासभन्दा सरकारी संयन्त्रमार्फत एकीकृत र अनुशासित बनाउन आग्रह गरेको छ।

सचिवालयले सहयोग गर्न इच्छुक सबैलाई राज्यको आधिकारिक प्रणालीमा जोडिएर उद्धार तथा राहत अभियानलाई प्रभावकारी बनाउन सहयोग गर्न अपिल गरेको छ।

सुरुङमा फसेका ३५० जना सकुशल फेला, सेनाद्वारा उद्दार

रसुवा। रसुवास्थित माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जना सकुशल फेला परेका छन्। नेपाली सेनाले कठिन उद्धार अभियान सञ्चालन गर्दै उनीहरूलाई सुरुङबाट सुरक्षित रूपमा बाहिर निकालेको जनाएको छ।

बाढी तथा पहिरोका कारण सुरुङभित्र फसेका उनीहरूको अवस्थाबारे अन्योल भइरहेका बेला सेनाको टोलीले खोज तथा उद्धार अभियानमार्फत ३५० जनालाई सकुशल फेला पारेको हो।

उद्धारका क्रममा कठिन भूगोल तथा प्रतिकूल परिस्थितिका बीच सेनाले अभियान सञ्चालन गरेको बताइएको छ। उद्धार गरिएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा लैजाने तथा आवश्यक सहयोग उपलब्ध गराउने काम भइरहेको छ।

यस्तै, सुरुङभित्र अझै १०० भन्दा बढी व्यक्ति रहेको प्रारम्भिक जानकारी आएको छ। नेपाली सेनाले उनीहरूको खोज तथा उद्धारलाई समेत प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने थुप्रै व्यक्ति सम्पर्कविहीन तथा जोखिममा रहेको बताइएको छ। सेनासहित सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई तीव्र बनाएका छन्।

मैलुङ खोला जलविद्युत् गृहका ७ कर्मचारी सम्पर्कविहीन

रसुवा । रसुवामा आएको विनाशकारी बाढीले मैलुङखोला क्षेत्रमा ठूलो क्षति पुर्‍याएको भन्दै त्यहाँ तत्काल उद्धार टोली पठाउन माग गरिएको छ। ५ मेगावाट क्षमताको तल्लो मैलुङखोला जलविद्युत् गृहमा कार्यरत ७ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको बताइएको छ।

सम्पर्कविहीन हुनेमध्ये रबिन तामाङसमेत रहेको बताइएको छ। बाढीले जलविद्युत् गृहसँगै मैलुङखोला गाउँ नै बगाएको र ठूलो संख्यामा स्थानीयवासीसमेत बेपत्ता भएको दाबी गरिएको छ।

तर, बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म राज्यका उद्धार संयन्त्र पुग्न नसकेको भन्दै गुनासो गरिएको छ। प्रभावित क्षेत्रमा कति धनजनको क्षति भयो भन्ने प्रारम्भिक विवरणसमेत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग नरहेको बताइएको छ।

उद्धारका लागि पहल गर्न भन्दै प्रभावितका आफन्त तथा स्थानीय प्रतिनिधिहरूले बिहीबार दिनभर सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा पुगेर आग्रह गरेका थिए। उनीहरूले कम्तीमा हेलिकप्टर पठाएर ज्यान बचाउन सकिने अवस्थाका व्यक्तिहरूको उद्धार गर्न आग्रह गरे पनि हालसम्म त्यहाँ हेलिकप्टर वा सुरक्षाकर्मीको उद्धार टोली नपुगेको गुनासो गरेका छन्।

‘कम्तीमा हेलिकप्टर पठाएर हेर्नुस्, बाँच्ने सम्भावना भएकाहरूलाई उद्धार गरिदिनुस् भनेर आग्रह गर्‍यौँ। तर अहिलेसम्म न हेलिकप्टर गएको छ, न उद्धारका लागि सुरक्षाकर्मी पुगेका छन्,’ प्रभावितका आफन्तहरूले बताएका छन्।

मैलुङखोला जलविद्युत् आयोजनाको प्रभावित क्षेत्र रसुवाको मैलुङ दोभान क्षेत्रमा पर्छ। बाढीका कारण सो क्षेत्रको जलविद्युत् गृह तथा आसपासका बस्तीमा ठूलो क्षति पुगेको बताइएको छ।

उद्धार तथा राहतमा ढिलाइ भएको भन्दै प्रभावितका आफन्तहरूले राज्यका निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले विपद्को समयमा पहुँचका आधारमा उद्धार हुने अवस्था अन्त्य गर्दै जोखिममा रहेका सबै नागरिकको तत्काल उद्धार गर्न माग गरेका छन्।

रसुवा अस्पतालद्वारा आपत्कालीन राहत र औषधीय सामग्रीको माग

रसुवा। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न संकट व्यवस्थापनका लागि रसुवा अस्पतालले अत्यावश्यक राहत तथा चिकित्सा सामग्रीहरूको सूची जारी गर्दै तत्काल सहयोगको अपिल गरेको छ। बाढीका कारण विस्थापित र घाइते भएका नागरिकहरूको आकस्मिक उपचार तथा व्यवस्थापनका लागि अस्पतालमा स्रोतसाधनको अभाव भएपछि अस्पताल प्रशासनले यो सहयोगको आह्वान गरेको हो।

अस्पतालले बिरामी र विस्थापितहरूका लागि शय्या व्यवस्थापन गर्न तत्काल ५० थान बेड सिट, ५० थान कम्बल, ३० थान म्याट्रेस र ५० थान सिरानी आवश्यक रहेको जनाएको छ। यसका साथै बाढी प्रभावित नागरिकहरूका लागि टिसर्ट, ट्राउजर र ज्याकेटसहितका पोसाकहरूको समेत ठूलो परिमाणमा आवश्यकता परेको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएकाले अस्पतालले आकस्मिक प्रकाशका लागि २० थान टर्च र इमर्जेन्सी लाइट माग गरेको छ। साथै अस्पतालको ब्याकअप प्रणाली र जेनेरेटरहरू सञ्चालनका लागि आवश्यक पर्ने डिजेल इन्धनको तत्काल प्रबन्ध मिलाउन पनि अनुरोध गरिएको छ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र चिसोका कारण हुनसक्ने जटिलता रोक्न अस्पतालले १० थान विशिष्ट चिकित्सकीय उपकरण ‘फ्लुइड वार्मर’ उपलब्ध गराइदिन आग्रह गरेको छ। यसका साथै अस्पतालमा आश्रय लिइरहेकाहरूका लागि आपत्कालीन खाद्य आपूर्ति र स्वच्छ पिउने पानीको व्यवस्था गर्नुपर्ने चुनौती थपिएको छ।
अस्पताल प्रशासनका अनुसार टिमुरे क्षेत्रमा अलपत्र परेका र उद्धार गरिएका नागरिकहरूको स्वास्थ्य उपचारलाई निरन्तरता दिन यी सामग्रीहरू अपरिहार्य बनेका छन्। सञ्चार र यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएकाले सरकारी निकाय, रेडक्रस तथा गैरसरकारी संस्थाहरूलाई उद्धार टोलीसँगै यी राहत सामग्रीहरू पनि तत्काल रसुवा अस्पतालसम्म पुर्‍याइदिन अपिल गरिएको छ।

भोटेकोशी बाढी अपडेट : कास्कीमा १०२ शवको चाङ, राख्ने ठाउँको अभाव

पोखरा। भोटेकोशीमा आएको भीषण बाढीपछि विभिन्न जिल्लामा फेला परेका १०२ वटा शव कास्की ल्याइएको छ।

तनहुँ, नवलपुर, धादिङ र गोरखालगायत स्थानबाट ल्याइएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएका छन्।

तर शव राख्ने ठाउँको अभावले कास्की प्रशासनलाई अर्को चुनौती थपिएको छ। प्रतिष्ठानको शवगृहमा एकपटकमा ८८ वटा शव राख्न सकिने क्षमता भए पनि केही शव पहिलेदेखि नै रहेकाले अहिले थप शव व्यवस्थापन गर्न कठिन भएको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताएका छन्।

बाढीबाट ल्याइएका सबै शव पूर्ण अवस्थामा छैनन्। केही शवका अंग मात्र फेला परेका छन् भने बालबालिकाका शवसमेत रहेका छन्। उपलब्ध स्थानअनुसार ती शव तथा अंगहरूलाई छुट्टाछुट्टै सुरक्षित राखिएको प्रशासनले जनाएको छ।

शवगृह भरिएपछि नयाँ शव राख्ने अवस्था तत्काल नरहेको अधिकारीहरूको भनाइ छ। अहिले राखिएका शवको पहिचान तथा कानुनी प्रक्रिया सकेर आफन्तलाई बुझाउने काम अघि बढाइनेछ। त्यसपछि मात्र नयाँ शव व्यवस्थापन गर्न सकिने अवस्था आउने बताइएको छ।

पहिचानका लागि प्रत्येक शवको फोटो तथा आवश्यक विवरण संकलन गरिएको छ। आफन्तले सनाखत गरेपछि सम्बन्धित शव कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइनेछ।

पहिचान खुल्न नसकेका शवको हकमा डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ। लामो समयसम्म पनि सनाखत हुन नसकेका वा कसैले दाबी नगरेका शवलाई प्रचलित कानुनी प्रक्रिया पूरा गरेर अन्तिम संस्कार गरिने तयारी छ।

शव व्यवस्थापनको सम्पूर्ण प्रक्रिया मिलाउन जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा समिति बनाइएको छ।

समितिले शवको अभिलेखदेखि पहिचान, आफन्तलाई हस्तान्तरण र आवश्यक परे अन्तिम संस्कारसम्मका कामको समन्वय गर्ने एसपी नवीन कार्कीले जानकारी दिएका छन्।

रसुवामा ८२९ जनाको हवाई उद्धार

काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाली सेनाले व्यापक रूपमा जनशक्ति र हवाई साधन परिचालन गरेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाका ६ र गैरसैनिक ९ गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ।

नेपाली सेनाका अनुसार शुक्रबार बिहान ९ बजेसम्म हवाई साधनमार्फत ८२९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाका हेलिकप्टरबाट ७२४ जना र गैरसैनिक हेलिकप्टरबाट १०५ जनालाई सुरक्षित स्थानमा ल्याइएको हो।

नेपाली सेनाका प्रवक्ता उपरथी राजाराम बस्नेतका अनुसार उद्धार गरिएकामध्ये १०१ जना विदेशी नागरिकसमेत रहेका छन्।

बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा प्रभावित तथा जोखिममा परेकाको उद्धारलाई प्राथमिकतामा राखिएको सेनाले जनाएको छ। उद्धार तथा राहतका लागि ४ हजार ५ सयभन्दा बढी सैनिक परिचालन गरिएको छ।

सेनाले स्थल तथा हवाई माध्यमबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आवश्यक सहयोगका कामलाई निरन्तरता दिइरहेको जनाएको छ।

नुवाकोटको महेन्द्र माविमा १६ जना उद्धारको पर्खाइमा, ‘पानी खानसमेत पाएका छैनौँ’

नुवाकोट । नुवाकोटको गौरीबेँशीस्थित महेन्द्र माध्यमिक विद्यालयमा अभिभावक र विद्यार्थी गरी १६ जना उद्धारको पर्खाइमा रहेका छन् ।

विदुर नगरपालिका-४ बट्टार र ढुंगे बजार क्षेत्रका उनीहरू बाढी तथा विपद्का कारण विद्यालयमा रोकिएका हुन्। उद्धारको पर्खाइमा रहेकी अभिभावक सुनिता डंगोलले मोबाइलको ब्याट्री सकिन लागेको भन्दै तत्काल उद्धारको व्यवस्था गर्न आग्रह गरेकी छन्।

‘मोबाइल स्वीच अफ हुन लाग्यो। हाम्रो छिटो उद्धार होस्। यहाँ पानी खानसमेत पाएका छैनौँ,’ उनले भनेकी छन्।

डंगोलका अनुसार आकाशमा हेलिकप्टर देख्दा आफूहरूलाई उद्धार गर्न आएको हो कि भन्ने आशा जाग्ने गरेको छ। तर, हेलिकप्टर आए पनि आफूहरूको उद्धार हुन नसकेको भन्दै उनले गुनासो गरेकी छन्।

विद्यालयमा रहेका १६ जनाले तत्काल उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

 

गृहमन्त्री गुरुङ बट्टारमा, रसुवाको उद्धार प्रभावकारी बनाउन निर्देशन

नुवाकोट। गृहमन्त्री सुधन गुरुङ नुवाकोटको बट्टार पुगेका छन्।

रसुवामा बाढीपछि जारी उद्धार तथा राहत कार्यको स्थलगत अवस्थाबारे जानकारी लिन बट्टार पुगेका गृहमन्त्री गुरुङले रसुवाको धुञ्चे, टिमुरेलगायत प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

उनले प्रभावित क्षेत्रमा फसेका नागरिकको तत्काल उद्धार तथा राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित सुरक्षा निकाय तथा प्रशासनलाई निर्देशन दिएका हुन्।

यसअघि बिहीबार प्रधानमन्त्री बालेन शाह र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसमेत बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन बट्टार पुगेका थिए।

रसुवागढी भन्सारका कर्मचारीलाई तत्काल उद्धार गर्न आग्रह, ‘एक सेकेन्ड पनि सास फेर्न नसक्ने अवस्था’

काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रमा फसेका रसुवागढी भन्सार कार्यालयका कर्मचारीलाई तत्काल उद्धार गर्न परिवारजनले सरकारसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक पोस्टमा श्रेयना पुरीले आफ्नी दिदी अनिता पुरीसहित रसुवागढी भन्सार कार्यालयका कर्मचारीहरू बाढी प्रभावित क्षेत्रमा फसेको भन्दै तत्काल हेलिकोप्टरमार्फत उद्धार गरिदिन सरकारसँग अपिल गरेकी छन्।

उनले बाढीबाट उद्धार गरिएका तथा सुरक्षित स्थानमा पुगेका केही कर्मचारीसँगको कुराकानीका आधारमा आफ्नी दिदीसहित अन्य कर्मचारीहरू अझै घरमै रहेको उल्लेख गरेकी छन्।

‘मेरो दिदीलगायतका कर्मचारीहरू यही घरमा हुनुहुन्छ। उहाँहरू एक सेकेन्डमै बाहिर निस्कन पनि सक्ने अवस्था छैन,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

बाढीले आसपासका क्षेत्रमा थप क्षति पुर्‍याइरहेको भन्दै उनले सरकारले ढिला नगरी उद्धारको व्यवस्था गर्नुपर्ने बताएकी छन्।

‘सरकार, यो अन्तिम गुहार हो। पीडित परिवारको सास एक सेकेन्डसम्म पनि अडिन नसक्ने अवस्था छ,’ उनले भावुक अपिल गर्दै भनेकी छन्।

उनले प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङलगायतलाई उल्लेख गर्दै फसेका कर्मचारीको तत्काल उद्धारका लागि पहल गर्न आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियो तथा तस्बिरमा बाढीले रसुवा क्षेत्रमा घर तथा संरचना डुबानमा परेको र आसपासको अवस्था अत्यन्तै जोखिमपूर्ण देखिएको छ। उद्धारमा ढिलाइ हुँदा भित्र फसेका कर्मचारीको ज्यान जोखिममा पर्न सक्ने भन्दै परिवारजनले सरकारको तत्काल ध्यानाकर्षण गराएका छन्।

हिमताल विस्फोट भएको क्षेत्रमा पुनः हिउँ र चट्टान खस्ने, चिनियाँ पक्षद्वारा सतर्क रहन आग्रह

काठमाडौं । हालै हिमताल विस्फोट भएको क्षेत्रको तल्लो भागमा पुनः हिउँ तथा चट्टान खस्ने घटना देखिएपछि चिनियाँ पक्षले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

चिनियाँ पक्षले हिमताल विस्फोटपछि प्रभावित क्षेत्रमा भू–भाग अस्थिर रहेको र थप हिमपहिरो तथा चट्टान खस्ने जोखिम कायम रहेको भन्दै आसपासका बासिन्दा तथा सम्बन्धित निकायलाई सावधानी अपनाउन आग्रह गरेको हो।

जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सम्भावित जोखिमबाट सुरक्षित रहनसमेत आग्रह गरिएको छ।

यसअघि उक्त क्षेत्रमा हिमताल विस्फोट हुँदा ठूलो बाढी आएको थियो। त्यसबाट तल्लो तटीय क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेको थियो। पछिल्लो समय पुनः हिउँ र चट्टान खस्ने घटना देखिएपछि जोखिम थप बढ्न सक्ने भन्दै चिनियाँ पक्षले निगरानी र सतर्कता बढाएको जनाएको छ।

जसले १२२ जनाको जीवन जोगाए

काठमाडाैं। करिब ९ बजेर ३६ मिनेट। रसुवाको मैलुङमा दिनभरको काम सकेर मजदुरहरू आ-आफ्नो कोठामा आराम गरिरहेका थिए। केही दिनको थकान मेटाउन सुतेका थिए। बाहिर भने पहाडको अँध्यारो रात थियो।

त्यही दिन अचानक भोटेकोशी उर्लियो। केही सेकेन्डमै अवस्था यस्तो भयो, जसको कल्पना त्यहाँ रहेका कसैले पनि गरेका थिएनन्। पानीको ठूलो भेल बस्ती र निर्माणस्थलतर्फ सोझियो। मानिसहरूलाई के भइरहेको छ भन्ने बुझ्नसमेत समय मिलेन।

सुर्खेतको भेरीगंगा नगरपालिका-१३ बेलचौरका सन्दीप राना पनि मैलुङमा मजदुरी गर्छन्। सन्दीप साढे दुई वर्षदेखि रसुवाको मैलुङमा काम गर्दै आएका थिए। उनी पावर चाइनाले निर्माण गरिरहेको २१६ मेगावाटको जलविद्युत् परियोजनामा काम गर्थे।

‘एक्कासि ठूलो बाढी आएको देखेँ। सुरुमा त के भइरहेको हो भन्ने नै बुझिनँ। त्यसपछि भाग्न थालेँ,’ सन्दीप सम्झिन्छन्।

बाढीको भेल बढ्दै थियो। एकछिनमै खतरा नजिक आइपुगिसकेको थियो। तर सन्दीप आफू मात्रै भागेर सुरक्षित हुने बाटोमा गएनन्। उनले कोठाभित्र सुतेका साथीहरू सम्झिए। रातिको काम गरेर थकित भएका उनीहरू गहिरो निद्रामा थिए। करिब ५० जना त्यहीँ सुतेका थिए। सन्दीप फेरि कोठातर्फ दौडिए।

‘रातिको काम गरेर सबै सुतेका थिए। करिब ५० जना थिए। मैले सबैलाई उठाएँ। सबैलाई बाहिर निकाल्न सफल भयौँ। मैले उनीहरूलाई नउठाएको भए त्यो रात सबै जना सुतिरहेकै अवस्थामा बाढीमा पर्न सक्थे,’ उनी भन्छन्।

त्यो केही मिनेटको निर्णयले दर्जनौँ जीवन जोगियो।

परियोजनामा त्यसबेला ७७ जना काममा थिए। बाढीबाट उनीहरू सबै जोगिन सफल भए। एक जनालाई भने चोट लागेको थियो।

तर सन्दीपका लागि त्यो रात मानिसलाई बचाएको क्षण मात्रै थिएन, जीवनकै सबैभन्दा डरलाग्दो अनुभव पनि थियो।

‘त्यतिबेला मेरो सातो गइसकेको थियो। बेहोस हुन्छु जस्तो भएको थियो। एक्कासि यस्तो दृश्य देखेँ कि सुरुमा त लासहरू नै देखिन थाले,’ उनी सुनाउँछन्।

बाढीले सडकमा गुडिरहेका सवारीसाधनसमेत बगाउन थालेको थियो। कतिपय मानिसहरू सवारीसाधनभित्र फसेका थिए। अँध्यारो रातमा पानीको भेलसँगै मान्छेका चिच्याहट सुनिन्थ्यो।

सन्दीपले सकेसम्म मानिसहरूलाई उद्धार गर्ने प्रयास गरे।

‘गाडीहरू बगेर आइरहेका थिए। गाडीभित्र भएका मानिसहरूले हात उठाएर बचाइदिन आग्रह गरिरहेका थिए। त्यो दृश्य अहिले सम्झिँदा पनि मन आत्तिन्छ,’ उनी भन्छन्।

मैलुङमा पावर चाइनाको निर्माणस्थलसँगै सुरक्षाकर्मीका क्याम्पहरू पनि थिए। सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीका संरचना आसपासमा थिए। बाढीको भेलले ती क्षेत्रलाई समेत प्रभावित बनायो।

सन्दीपले आफूले देखेको त्यो दिनलाई शब्दमा बयान गर्न कठिन हुने बताउँछन्।

‘त्यहाँ मानिसहरू बचाउनका लागि जसरी भागिरहेका थिए, त्यो दृश्य निकै डरलाग्दो थियो। कसैलाई सम्हाल्ने समय थिएन। ज्यान जोगाउने कि अरूलाई बचाउने भन्ने अवस्था थियो,’ उनी भन्छन्।

तर त्यही भयावह परिस्थितिमा सन्दीपले आफ्नो ज्यानको पर्वाह नगरी अरूलाई उठाए, चेतावनी दिए र सुरक्षित स्थानतर्फ लैजान प्रयास गरे।

त्यसबेला उनले १२२ जनाको जीवन जोगाउन महत्वपूर्ण भूमिका खेले।

उनका लागि भने यो कुनै बहादुरी देखाउने काम थिएन।

‘मैले गर्नुपर्ने काम मात्रै गरेको हुँ। आफू बाँचेर अरूलाई मरिरहेको हेर्न सकिँदैन। त्यो अवस्थामा जसले जे सक्थ्यो, त्यही गर्नुपर्थ्यो,’ सन्दीप भन्छन्।

बाढीले मैलुङमा ठूलो विनाश गर्‍यो। कतिपय संरचना क्षणभरमै बगाए। सडक, सवारीसाधन र निर्माणस्थलमा क्षति पुग्यो। धेरै परिवारले आफ्ना आफन्त गुमाए।

तर त्यही अँध्यारो रातमा केही मानिसको समयमै गरिएको निर्णयले ठूलो मानवीय क्षति हुनबाट जोगायो।

करिब ९ बजेर ३६ मिनेटमा सुरु भएको त्यो भयावह क्षणले उनको जीवनमा कहिल्यै नमेटिने छाप छाडेको छ। तर उनीसँग एउटा सन्तोष पनि छ- त्यो दिन आफू डराए पनि अरूलाई समयमै उठाउन सके।

‘अहिले पनि त्यो दिन सम्झिँदा डर लाग्छ। तर ५० जना सुतेका थिए, सबै बाँचे। काममा रहेका ७७ जनामध्ये सबै सुरक्षित भए। त्यही कुरा सम्झिँदा भने खुसी लाग्छ,’ सन्दीप भन्छन्।

रानाले समयमै मानिसलाई उठाएर १२२ जीवनलाई बाढीको भेलबाट जोगाउने एउटा कथा छोडे।

बाढीपीडित नेपालीका लागि अस्ट्रेलियाको ५० लाख डलर सहयोग घोषणा

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली नागरिकका लागि अस्ट्रेलिया सरकारले ५० लाख अस्ट्रेलियन डलर आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

अस्ट्रेलियाली सरकारले बाढीबाट प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्दै खाद्यान्न, आश्रय, स्वास्थ्य सेवा, सरसफाइ तथा पुनःस्थापनाका लागि उक्त रकम परिचालन गर्ने जनाएको छ।

अन्तर्राष्ट्रिय विकासमन्त्री डा. एनी एलीका अनुसार कुल सहयोगमध्ये २० लाख अस्ट्रेलियन डलर विश्व खाद्य कार्यक्रममार्फत खाद्यान्न वितरण तथा आपत्कालीन व्यवस्थापनमा खर्च गरिनेछ।

त्यसैगरी, अर्को २० लाख डलर अस्ट्रेलियाली ह्युम्यानिटेरियन पार्टनरसिपमार्फत गैरसरकारी संस्थाहरूलाई उपलब्ध गराइनेछ। सो रकमबाट बाढीपीडितका लागि अस्थायी आश्रय, कम्बल, सरसफाइका सामग्री तथा स्वास्थ्य र मनोसामाजिक सहयोगको व्यवस्था गरिनेछ।

बाँकी १० लाख अस्ट्रेलियन डलर इमर्जेन्सी एक्सन एलायन्समार्फत प्रभावित क्षेत्रमा स्थानीय तहको नेतृत्वमा सञ्चालन हुने पुनःस्थापना र पुनर्वासका कार्यक्रमका लागि प्रयोग गरिने अस्ट्रेलियाली सरकारले जनाएको छ।

यसैबीच, बाढीपछि नेपालमा रहेका कम्तीमा ३९ जना अस्ट्रेलियाली नागरिक सम्पर्कविहीन भएको जानकारी सरकारले दिएको छ। उनीहरूको अवस्था यकिन गर्न तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन अस्ट्रेलियाले कन्सुलर अधिकारीसहितको टोली नेपालमा परिचालन गरेको छ।

काठमाडौंस्थित अस्ट्रेलियाली दूतावासका कर्मचारीसँगै संकट प्रतिक्रिया टोलीका सदस्य र क्षेत्रीय कन्सुलर अधिकारीसमेत उद्धार तथा समन्वयका लागि खटिएका छन्।

अस्ट्रेलियाले आगामी ४८ घण्टाभित्र थप तीन जना मानवीय सहायता विशेषज्ञलाई नेपाल पठाउने तयारी गरेको छ। ‘अस्ट्रेलिया असिस्ट्स’ कार्यक्रमअन्तर्गत आउने उनीहरूले विपद्पछिको मानवीय अवस्थाको मूल्यांकन, सहायता व्यवस्थापन, सञ्चार तथा पुनःस्थापनाका लागि आवश्यक योजना निर्माणमा सहयोग गर्नेछन्।

अस्ट्रेलियाली सरकारले नेपालमा देखिएको विपद्को प्रभाव कम गर्न तत्कालीन राहतसँगै प्रभावित समुदायको दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग गर्ने जनाएको छ।

विपद्ग्रस्त क्षेत्रमा तत्काल वैकल्पिक उद्धार तथा राहत योजना आवश्यक: महासचिव पोखरेल

काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपद्ग्रस्त क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन तत्काल वैकल्पिक योजना अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।

विपद्ग्रस्त क्षेत्रको स्थलगत अवस्थाबारे उल्लेख गर्दै पोखरेलले सरकारले उद्धारको काम गरिरहेको भए पनि जमिनको वास्तविक अवस्था र सरकारी संयन्त्रबीच ठूलो खाडल देखिएको बताएका छन्। नुवाकोटलाई बेसक्याम्प बनाएर नेपाली सेनाको नेतृत्वमा हवाई उद्धार भइरहेको विषयलाई उनले सकारात्मक भनेका छन्।

उनले विपद् व्यवस्थापनमा सुरक्षा निकायबीच पर्याप्त समन्वय हुन नसकेको दाबी गरेका छन्। गृह मन्त्रालय र जिल्ला प्रशासनले राहत तथा उद्धारको प्रभावकारी कमाण्ड सम्हाल्न नसकेको तथा नेपाली सेना, स्थानीय प्रशासन र जनप्रतिनिधिबीच सहज समन्वय र पहुँच स्थापित हुन नसकेको उनको भनाइ छ।

पोखरेलका अनुसार त्रिशूली पारिका क्षेत्रमा पुग्ने मुख्य सडक सञ्जाल विच्छेद हुँदा ती क्षेत्रमा स्वयंसेवक तथा राहत सामग्री पुर्‍याउन कठिनाइ भइरहेको छ। ठूलो संख्यामा मानिस अलपत्र तथा विस्थापित भएकाले तत्काल सबै क्षेत्रमा हवाई उद्धार सम्भव नहुने र हेलिकप्टरको सीमितता तथा प्रतिकूल मौसमले समस्या थप जटिल बनाएको उनले बताएका छन्।

त्यसैगरी, बिजुली र सञ्चार सेवा अवरुद्ध हुँदा प्रभावित क्षेत्रको सूचना आदानप्रदानसमेत ठप्प भएको भन्दै उनले स्थलमार्गबाट उद्धार तथा राहत पुर्‍याउने भरपर्दो वैकल्पिक योजना आवश्यक रहेको बताएका छन्।

महासचिव पोखरेलले सरकारलाई तत्काल पाँचवटा वैकल्पिक योजना अघि बढाउन सुझाव दिएका छन्। तीनवटै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई समेटेर एकीकृत ‘कमाण्ड पोस्ट’ निर्माण गर्नुपर्ने, मुख्य सडक नजोडिएसम्म तुइन, फलामे डोरी तथा अस्थायी पुलजस्ता वैकल्पिक माध्यमबाट खानेपानी, औषधि र खाद्यान्न पुर्‍याउनुपर्ने उनको सुझाव छ।

त्यस्तै, निजी क्षेत्रका ठूला हेभी इक्युपमेन्टसमेत परिचालन गरी स्थलगत मार्ग खोल्ने कामलाई युद्धस्तरमा अघि बढाउनुपर्ने र नदी तथा ठूला खोलामा बेलिब्रिज जडान गर्नुपर्ने उनले बताएका छन्।

डुबान क्षेत्रका भग्नावशेष तथा दलदलमा दबिएका शवको खोजीलाई तीव्रता दिन थप जनशक्ति र आधुनिक उपकरण परिचालन गर्नुपर्ने तथा सुरक्षा निकायसँगै कामको प्रकृतिअनुसार नागरिकस्तरका स्वयंसेवकलाई पनि तत्काल परिचालन गर्नुपर्ने पोखरेलको सुझाव छ।

मानवीय संकटको समयमा राजनीति वा प्रक्रियागत विलम्बका कारण राहत तथा उद्धार प्रभावित हुन नहुने उल्लेख गर्दै पोखरेलले सरकारको ध्यान विपद्ग्रस्त क्षेत्रको तत्कालीन आवश्यकता र वैकल्पिक उद्धार तथा राहत व्यवस्थापनतर्फ यथाशीघ्र केन्द्रित हुनुपर्ने बताएका छन्।

नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको ट्रम्पको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्।

अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ट्रम्पले नेपाललाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।

लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै ट्रम्पले नेपालमा भोटेकोशी बाढीका कारण भएको क्षतिबारे आफूले जानकारी प्राप्त गरेको बताएका थिए।

नेपालका अधिकारीहरूसँग बाढीबाट भएको क्षति र अवस्थाबारे जानकारी लिएपछि आवश्यक सहयोगका लागि अमेरिका तयार रहेको सन्देश आफूले दिएको ट्रम्पले बताएका छन्।

‘नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ,’ ट्रम्पलाई उद्धृत गर्दै एनबीसी न्यूजले जनाएको छ।

बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा अमेरिकी राष्ट्रपतिको यस्तो अभिव्यक्तिलाई नेपालप्रति अमेरिकाको ऐक्यबद्धता र मानवीय सहयोगको प्रतिबद्धताका रूपमा हेरिएको छ।

भोटेकोशी बाढीप्रति शेख हसिनाको दुःख व्यक्त, नेपाललाई सहयोग गर्न बंगलादेशसँग आग्रह

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले नेपालमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।

रसुवाको टिमुरे, स्याफ्रुबेँसी र रसुवागढीलगायत क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै उनले विपद्मा ज्यान गुमाउनेका परिवार, नेपाल सरकार तथा नेपाली जनताप्रति समवेदना व्यक्त गरेकी हुन्।

हसिनाले विपद्को समयमा नेपाललाई आवश्यक मानवीय सहयोग उपलब्ध गराउन बंगलादेश सरकारले पहल गर्नुपर्ने बताएकी छन्। आवश्यक परे बंगलादेशको सैदपुर विमानस्थललाई राहत सामग्री तथा मानवीय सहायता व्यवस्थापन र परिचालन गर्ने केन्द्रका रूपमा प्रयोग गर्न दिनुपर्ने उनको धारणा छ।

नेपाल र बंगलादेशबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै हसिनाले दुई देशबीच इतिहास, भूगोल, संस्कृति, क्षेत्रीय सहकार्य तथा जनस्तरको सम्बन्धले बलियो मित्रता कायम गरेको बताएकी छन्।

उनले सन् २०१८ मा काठमाडौंमा आयोजित चौथो बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएको स्मरणसमेत गरेकी छन्। त्यस क्रममा आफूले नेपाली जनताको आत्मीयता र आतिथ्य अनुभव गरेको उल्लेख गर्दै उनले प्राकृतिक विपत्तिको सामना गर्दै पुनः उठ्ने नेपाली जनताको साहस र क्षमताप्रति सम्मान व्यक्त गरेकी छन्।

बाढीका कारण प्रभावित नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै हसिनाले संकटको यस घडीमा नेपाललाई आवश्यक सहयोग र मानवीय सहायता उपलब्ध गराउन क्षेत्रीय मित्रराष्ट्रहरूले समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन्।

जनैपूर्णिमामा पशुपतिका बटुकको बिहानैदेखि व्रत र पूजापाठ [तस्वीरहरू]

काठमाडौं। श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा पशुपतिनाथस्थित वेद वृद्धाश्रमका बटुकहरूले बिहानै स्नान गरी पूजापाठसहित व्रत सुरु गरेका छन्।

जनैपूर्णिमाका दिन तागाधारी समुदायले पुरानो जनै त्यागेर मन्त्रद्वारा संस्कारित नयाँ यज्ञोपवीत धारण गर्ने धार्मिक मान्यता छ। पर्वको तयारीस्वरूप अघिल्लो दिनदेखि नै केशमुण्डन गर्ने, एक छाक मात्र भोजन गर्ने र शुद्ध भएर बस्ने चलन रहँदै आएको छ।

पर्वका दिन व्रत बसेका श्रद्धालुहरू बिहानै नदी, पोखरी, ताल, तलाउ तथा विभिन्न कुण्डमा पुगेर धार्मिक विधिअनुसार स्नान गर्छन्। स्नानको क्रममा गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका प्रयोग गर्ने परम्परासमेत छ।

स्नानपछि जौ, तिल र कुश प्रयोग गरी ऋषिहरूलाई तर्पण दिने तथा वैदिक विधिबाट पूजा आराधना गर्ने गरिन्छ। त्यसपछि रुद्राभिषेकलगायतका धार्मिक कर्म पूरा गरी मन्त्रिएको नयाँ जनै धारण गरिन्छ।

तागाधारी समुदायले यसै दिन नयाँ यज्ञोपवीत धारण गर्ने भएकाले श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा भनिँदै आएको हो।

जनैपूर्णिमामा रक्षासूत्र बाँध्ने चलन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। परिवारका सदस्य, आफन्त तथा शुभेच्छुकबीच राखी वा रक्षासूत्र बाँधेर सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्ने गरिन्छ।

नेपाल बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले जनैपूर्णिमा विभिन्न समुदायले आफ्नै परम्परा र संस्कारअनुसार मनाउने गरेका छन्।

धार्मिक आस्था, पारिवारिक सम्बन्ध र सांस्कृतिक एकताको सन्देश दिने पर्वका रूपमा पनि यस दिनलाई लिइन्छ।