`

भिजिलान्तेमार्फत आलाेचनात्मक प्रश्न छेक्दै बालेन

काठमाडाैं । प्रमुख सञ्चारमाध्यमका कार्यालय तथा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निवास अगाडि एकै दिन शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएका घटनापछि सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।

आलोचकहरूले यसलाई सामान्य पार्किङको घटना नभई सरकारको आलोचना गर्ने सञ्चारमाध्यम र विपक्षी आवाजमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाएका छन्।

सोमबार बिहान कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर, हिमालयन टेलिभिजन, भाटभटेनी सुपरमार्केट तथा कांग्रेस सभापति गगनकुमार थापाको निवास अगाडि आवतजावत नै प्रभावित हुने गरी सवारीसाधन पार्क गरिएको थियो।

घटना सार्वजनिक भएसँगै पत्रकार, नागरिक समाज र राजनीतिक वृत्तमा यसलाई लिएर तीव्र बहस सुरु भएको छ।

घटनालाई लिएर विभिन्न सञ्चारकर्मी तथा राजनीतिक नेताले सरकारको चर्को आलोचना गरेका छन्।

उनीहरूको आरोप छ, पछिल्लो समय सरकारमाथि बढिरहेका जनदबाब, सडक आन्दोलन र आलोचनाबाट जनताको ध्यान मोड्न तथा स्वतन्त्र प्रेसलाई त्रसित बनाउन यस्तो गतिविधि गरिएको हो।

कांग्रेस सभापति थापाले भनेका छन्, ‘गाडी राखेर बाटो मात्रै छेकिएको होइन, आवाज नै थुन्न खोजिएको हो। सरकार आफैँ प्रश्न गर्नेहरूको प्रश्न बन्द गर्न ओर्लिएको छ। आज मेरो घरअगाडि गाडी राखिएको होइन, मेरो मुख थुन्न खोजिएको हो। यो तर्साउने प्रयास हो। ‘प्रश्न गरिस् भने खबरदार’ भन्ने सन्देश दिन खोजिएको हो।’

उनले थप दाबी गरे, ‘त्यहाँ सामान्य नागरिक आएर गाडी राखेको होइन। गाडी राख्ने व्यक्ति प्रशासनकै गाडी चढेर गएको जानकारी आएको छ। त्यसैले यो सामान्य पार्किङको घटना भनेर टार्न सकिने अवस्था छैन।’

सरकारमाथि बढ्दो दबाबबीच पार्किङ

पछिल्ला केही सातादेखि सरकार विभिन्न जनसरोकारका विषयमा निरन्तर आलोचनाको केन्द्रमा छ। सहकारी पीडितको आन्दोलन पुनः चर्किँदै गएको छ।

मिटरब्याज पीडितहरू न्यायको माग गर्दै फेरि काठमाडौं केन्द्रित आन्दोलनका लागि आउँदैन् । सुकुम्बासी व्यवस्थापनको विषय झन् जटिल बनेको छ भने बेरोजगारी, सुशासन र सार्वजनिक सेवा प्रवाहका विषयमा सरकारमाथि प्रश्न उठिरहेका छन्।

यहीबीच पार्किङ विवादसँग जोडिएका मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह र मृत्युको घटनाले पनि सरकारमाथि थप नैतिक दबाब सिर्जना गरेको छ।

त्यसअघि ‘१०० दिनमै रोजगारी’ दिने सरकारी प्रतिबद्धताप्रति निराश हुँदै सर्लाहीका विवेक मण्डलले आत्महत्याको प्रयास गरेको घटनाले समेत सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको थियो।

यस्ता जनसरोकारका विषयमा सरकारमाथि आलोचना बढिरहेका बेला आलोचनात्मक समाचार प्रकाशन गर्दै आएका सञ्चारमाध्यमकै कार्यालय अगाडि शंकास्पद रूपमा गाडी पार्क गरिनुले घटनालाई अझ रहस्यमय बनाएको छ।

सोमबार बिहान सबैभन्दा पहिले तीनकुनेस्थित कान्तिपुर मिडिया ग्रुपको मुख्य गेट अगाडि बा प्रदेश ०१-०३४ च ८४८० नम्बरको गाडी पार्क गरिएको भेटिएको थियो।

त्यसपछि बुद्धनगरस्थित अनलाइनखबरको कार्यालय अगाडि बा १२ च ८५४५ नम्बरको गाडी त्यही शैलीमा राखिएको जानकारी सार्वजनिक भयो।

त्यसपछि मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजनको कार्यालय प्रवेशद्वार अगाडि पनि अर्को सवारीसाधन पार्क गरिएको फेला पर्‍यो। अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडि समेत यस्तै प्रकारले गाडी राखिएको थियो।

सबै घटनामा समान शैली अपनाइएको देखिएपछि पत्रकारहरूबीच यो नियोजित गतिविधि हुनसक्ने आशंका व्यक्त गरिएको थियो।

प्रहरीको भूमिकामाथि पनि शंकास्पद

सम्बन्धित सञ्चारगृहहरूले बिहानै प्रहरीलाई जानकारी गराए पनि गाडी तत्काल हटाउनेतर्फ सक्रियता देखाएन । गाडी हटाउन प्रहरी जानकारी दिएकाे झण्डै चार घण्टापछि मात्रै पुगे । यसले प्रहरीको भूमिकामाथि पनि प्रश्न उब्जिएकाे छ।

प्रहरीले भने सूचना प्राप्त हुनासाथ टोली परिचालन गरिएको र सुरक्षाका दृष्टिले गाडीमा कुनै विस्फोटक पदार्थ छ कि छैन भन्ने परीक्षण गरेपछि मात्रै क्रेनमार्फत हटाइएको जनाएको छ।

याे घटनापछि प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले लोकतन्त्रमा स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको प्रत्यक्ष वा अप्रत्यक्ष दबाब अस्वीकार्य भएको बताएका छन्।

उनले भने, ‘सञ्चारमाध्यम सरकारका शत्रु होइनन्। उनीहरू जनताका आँखाअघि राज्यका कामकारबाही प्रस्तुत गर्ने ऐना हुन्। ऐना फुटाउँदैमा अनुहार सुन्दर देखिँदैन। समाचार रोक्दैमा समस्या हराउँदैन।’

उनले बालेन सरकारका निर्णय, कार्यशैली तथा जनसरोकारका विषयमा निरन्तर खबरदारी गरिरहेका सञ्चारमाध्यम र विपक्षी दललाई नै निशाना बनाइएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

विशेषगरी सहकारी ठगी, मिटरब्याज पीडित, सुकुम्बासी समस्या, बेरोजगारी, भ्रष्टाचार तथा सुशासनका विषयमा आलोचनात्मक समाचार प्रकाशन भइरहेका बेला त्यही सञ्चारगृहका कार्यालय अगाडि सवारीसाधन राखिनुले घटनालाई संयाेज मात्रै मान्न नसकिने बताए ।

ती बालेन, यी बालेन र गुमनाम बालेन

काठमाडौं। प्रधानमन्त्री बन्नुअघि सन् २०२५ को अन्तिमसम्ममा बालेन्द्र शाह ‘बालेन’को फेसबुक पेज ‘बालेन’ प्रत्येक तीन दिनमा एक स्टाटस सार्वजनिक हुने गरेको देखिन्छ।

काठमाडौं महानगरको मेयर निर्वाचित भएपछि सन् २०२१ देखि सन् २०२४ सम्म लेखेका अधिकांश स्टाटसमा उनले सरकारको विरोध गरेका छन्।

जुन उनको प्रोफाइल भिजिट गर्दा पनि देखिन्छ। उनले सानादेखि ठूला हरेक समस्यामा केन्द्र सरकारलाई दोषी देखाउने गरेको पाइन्छ। हरेक मुद्दामा सरकार जवाफदेही हुनुपर्छ भन्ने उनका ती पोस्टहरूको आशय देखिन्छ।

प्रश्न गरेर सरकार र तत्कालीन शासकहरुसँग जवाफदेहिता माग गर्ने उनै शाह अहिले सत्तामा छन्। तर उनी भने जनताका, भुइँतहका, सडकका नागरिकका प्रश्न सुन्दैनन्। जवाफ दिँदैनन्। जनसवालप्रति उत्तरदायी देखिँदैनन्।

मानौँ, उनी कुनै छुट्टै ग्रहबाट आएका एलियन हुन्। एलियनहरूको जमात र समूहहरूले उनलाई प्रधानमन्त्री बनाएका हुन्। उनीबाट अहिलेसम्म देशले लोकतान्त्रिक चरित्र देख्न पाएको छैन। रोक्ने, ठोक्ने, टोक्ने, थुन्ने, छेक्ने, भाँच्ने लगायतका आचरणहरू उनी नेतृत्वको सरकारको दैनिकी जस्तो देखिन्छ।

प्रशासनका कर्मचारी, सुरक्षा संयन्त्रका अधिकारी, निजी क्षेत्रका व्यवसायी, न्यायपालिका र व्यवस्थापिका, पत्रकार तथा नागरिक समाजलाई शाह नेतृत्वको सरकारले धम्क्याइरहेको छ। चुनौती दिइरहेको छ। संवैधानिक निकायहरूमाथि धरपकड चलिरहेको छ। भुइँतहका नागरिक आजित छन्। महँगीको मार भान्सासम्म पुगेको छ। सीमाका नागरिक उस्तै त्रसित अवस्थामा छन्। उद्योगहरू बन्द हुने स्थितिमा पुग्दै छन्। सुशासन भनेको यो पनि होइन होला कि नागरिकलाई डर देखाउनु, त्रासमा बाँच्न लगाउनु।

शाह र्‍यापर समेत हुन्। उनको राजनीतिक जीवन र्‍याप र इन्जिनियरिङसँग जोडिएको छ। र्‍यापको कुरा गर्दा उनका र्‍याप गीतहरूमा समेत परम्परागत राजनीतिक अभ्यासप्रतिको वितृष्णा, विगतमा सरकार सञ्चालन गरेका दलहरूप्रतिको आक्रोश, नेपाली समाजको धरातल, गरिबी, अन्याय लगायतका विषयवस्तुहरू भेटिन्छन्। मेयर र प्रधानमन्त्री बन्नुअघि नै सार्वजनिक भएका ‘बलिदान’, ‘प्रहरी प्रतिकार’, ‘सडक बालक’ लगायतका गीतहरूमा ती कुराहरू उजागर भएका छन्।

‘स्वतन्त्रता हराइसक्यो, बाँच्न देऊ मलाई।’ शाहको ‘प्रहरी प्रतिकार’ शीर्षक दिइएको र्‍याप गीतको सुरुआत यहीबाट हुन्छ। ‘मलाई बोल्न दे सरकार’ र ‘गरिबको चमेली बोल्दिने कोही छैन’ यी दुई कथन उनको राजनीतिक जीवनका दुई महत्वपूर्ण श्लोक बने। जुन श्लोकहरु उनको ‘बलिदान’ गीतमा भेटिन्छन्।

तर ‘मलाई बोल्न दे सरकार’ भन्ने शाह आज अरूलाई बोल्न दिँदैनन्। जसको सबैभन्दा ठूलो उदाहरणका रूपमा जेनजी अभियन्ता माजिद अन्सारीको गैरकानुनी गिरफ्तारीलाई लिन सकिन्छ। अन्सारीलाई प्रहरीले सुकुमवासी नागरिक बसिरहेको होल्डिङ सेन्टरबाट पक्राउ गर्‍यो। बाढीले बसिरहेको ठाउँ नै जलमग्न भएपछि ‘सुकुमवासीको उचित व्यवस्थापन गर, सरकार’ भन्दै उनी त्यहाँ पुगेका थिए।

‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने शाह सबैभन्दा निरीह गरिब र निम्नवर्गप्रति देखिए। व्यवस्थापनको योजना बिनै सुकुमवासीलाई जसरी डोजर र बन्दुक देखाएर लखेटियो, त्यो कार्य गरिबको पक्षमा हुनै सक्दैन। चर्को मूल्यवृद्धि, विद्युत्, शिक्षा र स्वास्थ्यमा लगाइएको अनावश्यक करले गरिबको भलो हुँदैन।

‘स्वतन्त्रता हराइसक्यो, बाँच्न देऊ मलाई।’ आज मिडियाहाउसका अगाडि गेटमै गाडी पार्किङ गरेर अवरोध गर्न खोजेको दृश्यले के बताउँछ? प्रश्न सोध्ने ओठहरू सिलाउन थालियो र प्रश्न लेख्ने हातहरू भाँच्न थालियो भने त्यो कस्तो प्रकारको स्वतन्त्रता हुन्छ? लोकतन्त्रमा सबैभन्दा स्वतन्त्र रहनुपर्ने सञ्चारमाध्यममाथिको नियन्त्रणले कस्तो खाले स्वतन्त्रताको वकालत गर्छ?

यहाँ फरक विचारको सम्मान हुँदैन। फरक विचार राख्ने मान्छे अपराधी करार हुन्छ। उसलाई खेदिन्छ। फरक विचार राख्नेबित्तिकै बलात्कारको धम्की दिइन्छ। चरित्रहत्याको त्रास देखाइन्छ। साइबर आक्रमण गरिन्छ। साइबर वारका निम्ति साइबर रुमहरू तयारी अवस्थामा छन्।

लोकतान्त्रिक चरित्र र अभ्यास भएको देश यसरी चल्दैन। गणतान्त्रिक मूल्य-मान्यता बोकेको देशको समाज यस्तो हुँदैन। लोकतान्त्रिक गणतान्त्रिक अभ्यास गरिरहेका देशका नागरिक डर, त्रास र धम्कीमा बाँच्नुपर्दैन। लाग्छ, यो देशको लोकतन्त्र र गणतन्त्र एल्गोरिदमले चलाइरहेको छ।

२५ असारमा मुगुका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरे। उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भयो।

त्यसको भोलिपल्ट सर्लाहीमा विवेक मण्डल नाम गरेका अर्का युवाले आत्मदाहको प्रयास गरे। त्यसै दिन काठमाडौंको बुद्धनगरमा सबिन रावत नाम गरेका अर्का एकजनाले आत्मदाह गरे। र, उनको पनि निधन भयो।

अहिलेभन्दा ठीक तीन वर्षअघि संघीय संसद् भवन, बानेश्वरअगाडि व्यवसायी प्रेमप्रसाद आचार्यले आत्मदाह गरे। आचार्यले विभिन्न व्यवसाय गर्दा आफूले पाउनुपर्ने रकमसमेत नदिएर आफूलाई मर्न बाध्य पारिएको उल्लेख गरेका थिए।

त्यतिबेला अहिलेका प्रधानमन्त्री शाह काठमाडौं महानगरका मेयर थिए।

‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै गर्छन्। एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन्। एकजना नागरिक संसद् भवनअगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्।’ यो प्रधानमन्त्री बालेन्द्र शाहले मेयर भएका बखत लेखेको स्टाटस हो।

तीन वर्षअघिको आत्मदाहको विरोधमा चर्को सुनिएका बालेन्द्र यतिबेला प्रधानमन्त्री छन्। त्यतिबेला उक्त आत्मदाहको उनले चर्को विरोध गरेका थिए। जहाँ उनले अगाडि लेखेका छन्, ‘त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो। र, सबैभन्दा ठूलो संकेत राज्यको चरम असफलताको हो। उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यका हरेक तप्का र निकाय असफल भएका छन्।’

तर बालेन्द्र आज चुपचाप छन्। गुमनाम छन्। सत्ताको बागडोर सम्हालिरहेका उनीबाट सहानुभूतिका शब्दहरू पनि निस्किँदैनन्। बरु तीन वर्षअघि राज्यको गल्ती भन्दै तत्कालीन सरकारतर्फ औँला ठड्याउने उनी अहिले नेपाली आत्मदाह प्रकरणको गल्ती महानगरको बनाउन लागिपरेका छन्।

यो बेलामा एउटा आम प्रश्न उब्जिन्छ- प्रेमप्रसाद आचार्यको आत्मदाह राज्यको असफलता हो भने गणेशहरूको आत्मदाह राज्यको असफलता कसरी होइन? आज भन्न किन नपाइने कि, ‘गणेश, सबिन र विवेक’को व्यवसायमा, उनीहरूको निराशामा, उनीहरूको सहयोगको याचनामा, उनीहरूको सुरक्षामा, उनीहरूको उद्धारमा, उनीहरूले भोगेको हरेक चरणमा राज्य असफल भएको छ? राज्यका हरेक तप्का र निकाय असफल भएका छन् भन्न किन नपाउने?

उसो त शाह हरेक संवेदनशील घटनामा कि गुमनाम नै देखिने गरेका छन्, कि ती घटनाहरूलाई विषयान्तर गर्ने गरेका छन्।

१७ जेठमा ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भनेर उनी गायब भए। उनको त्यो अभिव्यक्ति राष्ट्रिय राजनीति, सार्वभौमसत्ता, स्वाधीनता, परराष्ट्र नीति र भूराजनीतिका दृष्टिकोणबाट निकै संवेदनशील थियो। उनको अभिव्यक्तिले पुरै देश आन्दोलित बन्यो। प्रत्येक देशभक्त नेपालीको चित्त दुखायो।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपा लगायतका संसद् र सडकका विपक्षी पार्टीहरूले प्रधानमन्त्री शाहको स्पष्टीकरण आवश्यक ठाने। सदन र सडक दुवैतिर यो विषय जोडतोडका साथ उठ्यो। तर उनले यो विषयमा पनि बोल्न चाहेनन्। बरु उनको अभिव्यक्तिलाई परराष्ट्र मन्त्रालयले ‘क्रस-बोर्डर अकुपेसन’सँग सम्बन्धित रहेको भन्दै रफ्फु भर्‍यो। कतिसम्म भने उनका समर्थकहरू नेपालले भारतको जग्गा मिचेको प्रमाण खोज्दै हिँडे। सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीका सबैभन्दा जान्ने माननीयहरूलाई सरकारको बचाउ गर्दागर्दै ठिक्क भयो।

सरकारले व्यवस्थापनको योजनाबिनै काठमाडौंका खोला किनारबाट सुकुमवासी नागरिकलाई लखेट्यो। बन्दुक, लाठी र डोजरको त्रास पैदा गरेर सुरक्षित स्थानान्तरणको हवाला दिएको सरकारले सुकुमवासी नागरिकलाई विभिन्न ठाउँका होल्डिङ सेन्टरमा पुर्‍यायो।

तर तीन महिना पुग्दासमेत व्यवस्थापनको कुनै ठोस योजना सरकारले सार्वजनिक गर्न सकेको छैन। बरु वर्षायाम सुरु भएसँगै सरकारले सुकुमवासीलाई राखेका होल्डिङ सेन्टरहरू नै डुबानमा पर्न थालेका छन्।

‘यो गिरिबन्धु चियाको समय हो। काले-काले मिलेर खाऊँ भाले।’ २ जुलाई २०२४ मा शाहले तत्कालीन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको फोटो राख्दै लेखेको स्टाटस हो यो। उनको यो स्टाटस लामो समयदेखि चर्चामा रहँदै आएको गिरिबन्धु टि-स्टेट प्रकरण लक्षित देखिन्छ।

शाह भ्रष्टाचारका विरुद्धमा आफू निकै कडा भएको देखाउँछन्। तर जब उनकै सरकारका गृहमन्त्री सुधन गुरुङको सेयर-खरिद प्रकरण बाहिरियो, उनी चुपचाप देखिए। उल्टै गुरुङमाथि छानबिन गर्न बनेको छानबिन समितिको प्रतिवेदन सामसुम पारेर गुरुङलाई गृहमन्त्रालय उपहार दिए।

शाह नेतृत्वको सरकारले बनाएको सम्पत्ति छानबिन समितिको कहानी पनि उस्तै छ। उक्त समितिको उद्देश्य विपक्षी दलका नेताहरू लक्षित देखिन्छ। नत्र वर्तमान सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति र पूर्वराजालाई छानबिन नगर्ने भनेर समितिलाई पूर्वाग्रही बनाइँदैन थियो।

अर्थमन्त्री स्वर्णिम वाग्लेको बिवाइडी गाडीको प्रकरण बाहिरियो। संसद्मा संसदीय छानबिन समितिको माग उठ्यो। तर बालेन्द्र करिब दुई महिनादेखि संसद् नै गएका छैनन्। यसमा पनि प्रश्नै प्रश्न छन्।

चुनावताका रास्वपाले मेरिटोक्रेसीको चर्को वकालत गर्थ्यो। उसको नारा नै थियो, ‘जान्नेलाई छान्ने।’ तर बालेन्द्र सरकारमा आइसकेपछि भएका नियुक्तिहरू विवादरहित हुन सकेनन्। चौथो वरियताका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने कुरा, विश्वविद्यालयका उपकुलपति नियुक्तिको विषय तथा विभिन्न संवैधानिक निकायका नियुक्तिहरूमा गम्भीर प्रश्न उठेका छन्।

राजनीतिका आधारस्तम्भ र लोकतन्त्रका अभ्यासका स्तम्भ मानिने विद्यार्थी संगठन, ट्रेड युनियन लगायतका राजनीतिक र श्रमिक संगठनलाई निषेध गर्ने बालेन्द्र सरकारको अर्को विवादित विषय बन्यो। बजेटमा करका दररेट हेरफेर गरेको, ‘पहिला सुन्ने अनि थुन्ने’ नभई ‘पहिला थुन्ने अनि सुन्ने’ खाले सरकारको कार्यशैली तथा स्वास्थ्य बिमा अगाडि नबढ्ने अर्थमन्त्रीको अभिव्यक्तिमा पनि प्रश्नै प्रश्न छन्।

शाह प्रधानमन्त्री बनेयता थुप्रै ठूला बस दुर्घटना भए, जसमा सयौँ नागरिकको निधन भयो। तर उनले भने श्रद्धाञ्जलि र समवेदनासमेत व्यक्त गर्दैनन्। कुनै व्यवसायीको ब्रान्ड एम्बेसडर बन्न फुर्सद पाउने उनी आफ्नै नागरिक मरिरहँदा समेत भने चुइक्क बोल्दैनन्।

गएको २३ र २४ भदौमा भएको जेनजी विद्रोहको बल र जगमा उनी देशको प्रधानमन्त्री बने। उक्त आन्दोलनमा ७६ जना निहत्था नागरिक शहीद हुनुपरेको थियो। आफूलाई त्यही आन्दोलनको नायक मान्ने बालेन्द्र शाह ७६ जना शहीदहरूको आर्यघाटमा अन्तिम संस्कार हुँदा झ्यालको पर्दा लगाएर र कोठाको चुक्कुल लगाएर गुमनाम बसे। मृतकप्रति कुनै समवेदनाका भाव देखिएनन्। घाइतेहरूलाई भेट्नु त उनको लागि परको कुरा भयो।

शाहको लोकतान्त्रिक चरित्रमा पनि गम्भीर प्रश्न उठ्दै आएको छ। राष्ट्रपति संस्थाको अपमान गर्ने, राष्ट्रपतिलाई राजीनामा दिन लगाउने तथा राष्ट्रपतिलाई नभेट्ने गतिविधिले यो कुरा उजागर गर्छ।

चुनावताका जम्माजम्मी २७ मिनेट बोलेका बालेन त्यसयता बोलेका छैनन्। पूर्वप्रधानमन्त्री केपी ओलीलाई पराजित गरेर प्रधानमन्त्री बनेका उनले झापा-५ का मतदातालाई सम्बोधन गरेनन्। राष्ट्रिय राजनीति र संसदीय राजनीतिको केन्द्र संसद्बाट राष्ट्रका नाममा सम्बोधन गरेका छैनन्। संसद्का तीन अधिवेशन सकिन लाग्दा उनी जम्माजम्मी एकपटक हतारिएर संसद्मा बोले। उनको त्यो सम्बोधन पनि प्रश्नरहित रहेन।

शाहका अगाडि अहिले प्रश्नका चाङ छन्। सडकदेखि सदनसम्म सबैले उनीसँग जवाफ मागिरहेका छन्। दायित्वबोध खोजिरहेका छन्। उत्तरदायित्व बहन गरेको हेर्न चाहिरहेका छन्।

तर अरूलाई प्रश्न गर्ने र जवाफ खोज्ने बालेन आफैँ चाहिँ किन चुपचाप र गुमनाम छन्?

फरकधारबाट बुझ्नुपर्छ ‘आदिकवि’लाई

राष्ट्र भूगोलले मात्र बन्दैन। भूगोलले राष्ट्रको सीमाना कोर्छ, तर त्यसलाई जीवन्त बनाउने शक्ति भाषा, साहित्य, संस्कृति र सामूहिक स्मृतिमा निहित हुन्छ। भूगोल राष्ट्रको शरीर हो भने भाषा–साहित्य त्यसको आत्मा हो।

हामीले बोल्ने भाषा, पढ्ने साहित्य, मान्ने संस्कृति र साझा राष्ट्रभावको समष्टिले नै राष्ट्रको पहिचान निर्माण गर्छ।

नेपालको सन्दर्भमा नेपाली भाषालाई जनभाषाको रूपमा स्थापित गर्दै राष्ट्रिय एकताको बलियो आधार निर्माण गर्ने व्यक्तित्वमध्ये आदिकवि भानुभक्त आचार्य अग्रस्थानमा छन्। उनले नेपाली भाषालाई केवल साहित्य सिर्जनाको माध्यम बनाएनन्, जनताको साझा चेतना र सांस्कृतिक एकताको आधारका रूपमा पनि स्थापित गरे। त्यसैले भानुभक्तको चर्चा गर्दा एउटा कविको मात्र होइन, नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचान निर्माणको एउटा ऐतिहासिक युगको चर्चा भइरहेको हुन्छ। 

हरेक वर्ष असार २९ गते उनको जन्मजयन्ती मनाइन्छ। औपचारिक कार्यक्रमहरू हुन्छन्, कविता वाचन गरिन्छ, उनको योगदानको प्रशंसा गरिन्छ। तर भानुभक्तलाई सम्झिनु र भानुभक्तलाई बुझ्नु एउटै कुरा होइन। उनी बिल्कुलै फरक थिए।

उनको वास्तविक धरातल बुझ्न उनी बाँचेको समय, उनले भोगेको समाज र उनले सुरु गरेको भाषिक अभियानलाई गहिरिएर हेर्नुपर्छ।

भानुभक्त जन्मिएको समय नेपाल राजनीतिक रूपमा एकीकृत भइसकेको थियो, तर भाषिक र सांस्कृतिक रूपमा अझै पनि साझा पहिचान निर्माणको प्रक्रियामै थियो। संस्कृत ज्ञान र शिक्षाको भाषा थियो।

धार्मिक ग्रन्थ, दर्शन र साहित्य पण्डित वर्गको पहुँचमा सीमित थिए। आम मानिस आफ्नै भाषामा धर्म बुझ्न, साहित्य पढ्न वा दर्शनसँग परिचित हुन सक्दैनथे। ज्ञान र जनताबीच ठूलो दूरी थियो। त्यही दूरी घटाउने साहस भानुभक्तले गरे।

उनले ‘अध्यात्म रामायण’लाई नेपाली भाषामा रूपान्तरण गरे। उनले उक्त अनुवादमार्फत संस्कृतको सीमाभित्र बन्द रहेको ज्ञानलाई जनभाषामा ल्याए। त्यतिबेला यो सांस्कृतिक क्रान्तिभन्दा कम थिएन। उनले नेपाली भाषाले पनि गहिरो दर्शन, आध्यात्मिक चिन्तन र उच्च कोटीको साहित्य बोकेर हिँड्न सक्छ भन्ने विश्वास स्थापित गरिदिए।

यही कारण भानुभक्तको योगदानलाई केवल साहित्यिक उपलब्धिका रूपमा होइन, भाषिक आन्दोलनका रूपमा समेत बुझ्नुपर्छ।

भाषाको शक्ति त्यसको सरलतामा हुन्छ। भानुभक्तले यही कुरा बुझेका थिए। उनले जटिल संस्कृत शैलीलाई पछ्याएनन्। नेपाली जनताले बोल्ने, बुझ्ने र आत्मसात् गर्न सक्ने भाषामा लेखे। उनका शब्दमा कृत्रिमता छैन, अनावश्यक अलङ्कार छैन। सरलता छ, लय छ, आत्मीयता छ। यही कारण उनका श्लोकहरू पुस्तकका पानामा मात्र सीमित भएनन्, गाउँघरका चौतारी, मठमन्दिर र जनजीवनमा पनि गुञ्जिए।

भानुभक्तको चर्चा गर्दा ‘आदिकवि’ उपाधिको प्रसङ्ग पनि अनिवार्य रूपमा आउँछ। यही विषय नेपाली साहित्यको सबैभन्दा लामो बहसमध्ये एक हो। इतिहासले भानुभक्तभन्दा अघि पनि नेपाली भाषामा कविता लेख्ने कविहरू थिए भन्ने देखाउँछ। त्यसैले ‘आदिकवि’ शब्दलाई शाब्दिक अर्थमा बुझ्दा प्रश्न उठ्नु स्वाभाविक हो। तर साहित्य मात्र कालक्रमले मापन हुन्छ? सायद साहित्य प्रभाव, चेतना र परिवर्तनले पनि मापन हुन्छ।

भानुभक्तले नेपाली कवितालाई पहिलोपटक जनताको जीवनसँग जोडे। उनले भाषालाई साहित्यिक गरिमा दिए। त्यसैले मोतीराम भट्टले उनलाई ‘आदिकवि’को सम्मान दिए। यो सम्मान पहिलो कवि भएकाले होइन, नेपाली काव्यधारालाई नयाँ उचाइमा पुर्‍याएकाले थियो।

भानुभक्तको ‘रामायण’ आज पनि नेपाली साहित्यको सबैभन्दा प्रभावशाली कृतिमध्ये एक मानिन्छ। यसको महत्त्व केवल धार्मिक दृष्टिले होइन, साहित्यिक दृष्टिले पनि असाधारण छ। उनले मूल ग्रन्थलाई अक्षरशः पछ्याएका छैनन्। उनले जहाँ आवश्यक ठाने, त्यहाँ कथालाई छोट्याए। जहाँ भाव विस्तार गर्नुपर्ने देखे, त्यहाँ आफ्नै शैली थपे। कतिपय प्रसङ्गमा नेपाली समाजको जीवनशैली, संस्कार र लोकभाषाको स्वाद मिसाए। त्यसैले भानुभक्तीय ‘रामायण’ अनुवाद र मौलिकताको सुन्दर संगम बनेको छ।

समयसँगै नयाँ प्रश्न जन्मिन्छन्, नयाँ दृष्टिकोण विकसित हुन्छन्। भानुभक्तका केही कृतिहरू आज पनि त्यही कारण बहसको केन्द्रमा छन्। विशेषगरी ‘बधूशिक्षा’लाई आधुनिक समाजले फरक दृष्टिले हेर्छ। त्यसमा महिलाका लागि प्रस्तुत गरिएका आदर्शहरू अहिलेको लैङ्गिक समानताको मान्यतासँग मेल खाँदैनन्। महिलाको भूमिका घरपरिवारमा सीमित गरिएको देखिन्छ। आजका सन्दर्भमा यी विचार स्वीकार्य छैनन्।

तर यही आधारमा भानुभक्तलाई अस्वीकार गर्नु पनि न्यायोचित हुँदैन। साहित्यकार आफ्ना समयका सन्तान हुन्छन्। उनी बाँचेको समाज, संस्कृति र मूल्यले उनको लेखनलाई प्रभाव पार्छ। त्यसैले ‘बधूशिक्षा’लाई वर्तमानको नैतिक मापदण्डबाट मात्र होइन, तत्कालीन समाजको ऐतिहासिक दस्तावेजका रूपमा पनि पढ्नुपर्छ।

त्यसो गर्दा त्यस समयको सामाजिक संरचना, पारिवारिक सम्बन्ध र सांस्कृतिक सोच बुझ्न सकिन्छ।

भानुभक्तसँग जोडिएको घाँसीको प्रसङ्ग पनि नेपाली साहित्यको चर्चित बहस हो। एउटा सामान्य घाँसीले आफ्नो नाम अमर बनाउन कुवा खनेको देखेर आफूले पनि समाजका लागि केही गर्नुपर्छ भन्ने प्रेरणा पाएको कथा पुस्तौँदेखि सुनिँदै आएको छ।

अनुसन्धानकर्ताहरूले यसको ऐतिहासिक सत्यतामाथि प्रश्न उठाएका छन्। धेरैले यसलाई मोतीराम भट्टको साहित्यिक कल्पना मान्छन्। तर इतिहासभन्दा पनि यसले बोकेको सन्देश ठूलो छ। मानिस धनले होइन, समाजका लागि गरेको योगदानले बाँच्छ भन्ने चेतना यस कथाले स्थापित गरेको छ।

भानुभक्तका फुटकर कविताहरू पढ्दा उनी केवल भक्तिकालीन कवि थिए भन्ने धारणा पनि बदलिन्छ। उनले समाजका विकृति देखेका छन्। अन्यायमाथि प्रहार गरेका छन्। प्रशासनिक ढिलासुस्ती, न्यायिक कमजोरी र सामाजिक असमानताप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

यसले उनी समाजप्रति संवेदनशील र यथार्थवादी कवि पनि थिए भन्ने देखाउँछ। यही कारण उनको साहित्यमा भक्ति, दर्शन, व्यङ्ग्य र सामाजिक चेतना एकसाथ भेटिन्छ।

आजको पुस्ताले भानुभक्तलाई पाठ्यपुस्तकका सीमित अध्यायमा मात्र पढिरहेको छ। तर उनको योगदान त्यसभन्दा धेरै ठूलो छ। उनले नेपाली भाषालाई आत्मविश्वास दिए। एउटा राष्ट्रको साझा भाषिक पहिचान निर्माण गर्न सहयोग गरे। साहित्यलाई सरल तरिकाले जनस्तरसम्म पुर्‍याए। भाषा र समाजबीचको दूरी घटाए। यही कारण आज पनि नेपाली भाषाको इतिहास लेखिँदा भानुभक्त पहिलो पङ्क्तिमा उभिन्छन्।

महान् व्यक्तित्वको विशेषता के हो भने समय बदलिन्छ। भानुभक्त पनि त्यस्तै व्यक्तित्व हुन्। उनका केही विचार समयसँगै पुराना भए, केही मान्यतामाथि प्रश्न उठे, तर उनको भाषिक योगदान, साहित्यिक उचाइ र सांस्कृतिक प्रभाव भने आज पनि उत्तिकै बलियो छन्। उनीमाथि हुने आलोचना पनि अन्ततः उनको महत्त्वकै प्रमाण हो, किनभने बहस सधैँ प्रभावशाली व्यक्तित्वकै वरिपरि हुन्छ।

अन्ततः नेपाली भाषालाई आवाज दिने, साहित्यलाई जनताको घरआँगनसम्म पुर्‍याउने र एउटा राष्ट्रलाई आफ्नै भाषामा सोच्ने आधार तयार पार्ने भानुभक्त  समय जति परिवर्तन भए पनि नेपाली साहित्यको आकाशमा ध्रुवताराजस्तै स्थिर रहनेछन्।

न्याय खोज्दा सिंहदरबार अघिको दृश्य

काठमाडौं। गृह मन्त्रालयमा पुगेर आफ्ना समस्या प्रत्यक्ष रूपमा राख्न पाउनुपर्ने माग गर्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका निहारिका सिंह राजपूत र बिनु कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार वर्षाको बीचमा सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरूलाई आवश्यक मापदण्डअनुसारको प्रवेश पास नभएको भन्दै प्रहरीले गेटमै रोकेको थियो। त्यसपछि दुवै जना दक्षिण गेटअगाडि सडकमै धर्नामा बसेका थिए।

निहारिका सिंह राजपूतले आफूहरू आवश्यक प्रक्रिया पूरा गरेर सिंहदरबार प्रवेश गर्न खोज्दा पनि ‘माथिको आदेश’ भन्दै रोकिएको आरोप लगाइन्।

उनले भनिन्, ‘हाम्रो लागि यो सरकार होइन? कोही पीडितलाई गृहमन्त्रीले आफैँ खोजी–खोजी भेट्ने, हामीलाई चाहिँ सिंहदरबारभित्र छिर्न पनि नदिने? हामी यहीँ धर्ना बस्छौँ।’

प्रहरीले प्रवेश गर्न नदिएपछि बिनु कठायत विरोधस्वरूप सडकमै सुतेकी थिइन्। त्यसलगत्तै प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार आवश्यक समन्वय र कानुनी प्रक्रिया पूरा गर्न निहारिका र बिनुलाई प्रहरी वृत्त सिंहदरबार लगिएको छ।

निहारिका सिंह राजपूत विगतदेखि आफ्ना व्यक्तिगत तथा कानुनी मागलाई लिएर विभिन्न सार्वजनिक आन्दोलन गर्दै आएकी छन्। यसपटक पनि गृह मन्त्रालयसमक्ष आफ्ना माग प्रत्यक्ष रूपमा राख्न पाउनुपर्ने अडानसहित उनी सिंहदरबार पुगेकी थिइन्।

तस्वीरहरू:

गणेश नेपालीको शव परिवारले बुझ्यो, ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव परिवारले बुझेको छ।

सरकारसँग सहमति भएपछि परिवारले शव बुझेर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगेको हो।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अहिले पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी भइरहेको छ।

यसैबीच, मृतकका परिवारले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै प्रहरी वृत्त कालिमाटीमा ज्यानसम्बन्धी कसुरअन्तर्गत जाहेरी दर्ता गराएका छन्।

प्रहरीका अनुसार जाहेरीमा हालसम्म कुनै व्यक्तिलाई प्रतिवादीका रूपमा किटान गरिएको छैन। अनुसन्धानको क्रममा संलग्नता पुष्टि हुने आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

एसपी भट्टराईले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीका विभिन्न टोली परिचालन गरी अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।

गणेश नेपालीले असार २५ गते काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका थिए। उपचारका क्रममा उनको निधन भएपछि परिवारले न्यायको माग गर्दै शव नबुझेको थियो। सरकार र परिवारबीच नौबुँदे सहमति भएपछि अन्ततः शव बुझेर अन्त्येष्टि प्रक्रिया अघि बढाइएको हो।

सातै प्रदेशमा सुविधासम्पन्न बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री बालेनको निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले देशका सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा उनले जलनका बिरामीलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउने व्यवस्था सुदृढ बनाउन जोड दिएका हुन्।

प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालहरूमा रहेका बर्न वार्डको क्षमता विस्तार र सेवा गुणस्तर सुधारका लागि आवश्यक योजना तत्काल तयार पार्न पनि निर्देशन दिए। गम्भीर प्रकृतिका जलनका बिरामीले उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्त्य गर्न सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

छलफलका क्रममा प्रधानमन्त्रीले गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालको सरसफाइ, सेवा प्रवाह, डिजिटल प्रविधिको प्रयोग तथा सुशासनको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरे।

उनले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन निजी अस्पतालहरूले बहिरङ्ग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियत दरमा उपलब्ध गराउने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न पनि निर्देशन दिए।

प्रधानमन्त्री शाहले एक स्वास्थ्य संस्थाले अपनाएका सफल अभ्यासलाई अन्य संस्थाले पनि अनुसरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्वास्थ्य संस्थाका नाममा रहेका अतिक्रमित जग्गाको समस्या सम्बन्धित निकायसँग समन्वय गरेर कानुनअनुसार समाधान गरिने बताए।

छलफलमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर सुधार, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन, पूर्वाधार विकास तथा स्वास्थ्य सेवाको डिजिटल रूपान्तरणका विषयमा सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले अस्पताल सूचना व्यवस्थापन प्रणाली प्रभावकारी बनाउनुपर्ने र केही प्रतिष्ठानका जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा समस्या परेको विषय पनि प्रधानमन्त्रीसमक्ष उठाएका थिए।

छलफलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नवीसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नारायणसिंह गुरुङ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. स्मृति काफ्ले तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति विवेक आचार्य सहभागी थिए।

रवि-बालेनको छलफल,मन्त्रीपरिषदमा हलचल

काठमाडौं। प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) र पार्टी सभापति रवि लामिछानेबीच पछिल्ला दुई दिनमा भएको छलफलमा सरकारको कार्यसम्पादन, केही मन्त्रीको भूमिका र सम्भावित मन्त्रिपरिषद् हेरफेरबारे गम्भीर समीक्षा भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार छलफलको केन्द्रमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि रहेका थिए। प्रधानमन्त्री बालेनले अर्थतन्त्रको वर्तमान अवस्था, सेयर बजारमा देखिएको निरन्तर गिरावट, पुँजी निर्माणको गति र आर्थिक नीतिको प्रभावकारिताबारे असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार बालेनको बुझाइमा अर्थमन्त्री वाग्लेको कार्यशैलीले लगानीकर्तामा अपेक्षित विश्वास सिर्जना गर्न सकेको छैन। सेयर बजार निरन्तर दबाबमा रहनु, विकास निर्माणका कार्यक्रमभन्दा वैदेशिक ऋण व्यवस्थापनमा बढी जोड देखिनु तथा अर्थतन्त्रमा उत्साह ल्याउने खालको बजेट प्रस्तुत हुन नसक्नुबारे छलफल भएको बताइएको छ।

यस्तै, नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्तिको विषय पनि छलफलमा उठेको स्रोतको दाबी छ। प्रधानमन्त्री निकट स्रोतले अर्थमन्त्रीले आफ्नो निकट व्यक्तिलाई नियुक्त गरेर ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने अवस्था सिर्जना गरेको आरोप लगाएको जनाएको छ। यद्यपि यस विषयमा अर्थमन्त्री वा सम्बन्धित पक्षबाट सार्वजनिक प्रतिक्रिया आएको छैन।

उता, पार्टी सभापति लामिछानेले पनि केही मन्त्रीहरूको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएको स्रोतको भनाइ छ। स्रोतका अनुसार स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी, पर्यटनमन्त्री खड्कराज पौडेल र कृषिमन्त्री गीता चौधरीको कामको प्रभावकारिताबारे छलफल भएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्रीले संस्थापन निकट मानिएका अर्थमन्त्रीको भूमिकामाथि प्रश्न उठाएपछि सभापति लामिछानेले पनि प्रधानमन्त्री निकट मानिने केही मन्त्रीहरूको कार्यसम्पादनबारे समीक्षा गर्नुपर्ने धारणा राखेका थिए। यसले पार्टीभित्र सरकार सञ्चालनको शैली र मन्त्रीहरूको जिम्मेवारीबारे खुला समीक्षा सुरु भएको संकेत गरेको स्रोतको दाबी छ।

पार्टीभित्रबाट प्रधानमन्त्री कार्यालयले मन्त्रालयहरूको काममा आवश्यकता भन्दा बढी हस्तक्षेप गरिरहेको गुनासोसमेत उठेको स्रोतले जनाएको छ। यही विषयलाई लिएर पनि छलफलमा सरकार सञ्चालनको कार्यशैलीबारे समीक्षा भएको बताइएको छ।

यसैबीच, असार २४ गते प्रधानमन्त्री बालेन शाहले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग सिंहदरबारमा गरेको छलफलमा अर्थमन्त्री वाग्ले सहभागी नभएको विषयलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।

त्यसउपरान्त प्रधानमन्त्री र अर्थमन्त्रीबीच देखिएको दूरी कम गर्न सभापति रवि लामिछानेले सहजीकरणको भूमिका खेलेको स्रोतको दाबी छ।

कार्यसम्पादनका आधारमा केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने विषयमा प्रारम्भिक तहमा छलफल भए पनि कुनै अन्तिम निर्णय भएको छैन।

यद्यपि प्रधानमन्त्रीको सचिवालयले भने तत्काल मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नरहेको समेत स्पष्ट पारेको छ।

सरकार गठन भएको केही महिनामै मन्त्रीहरूको कार्यसम्पादन, आर्थिक नीति र सरकार सञ्चालनको शैलीबारे पार्टी नेतृत्वमै समीक्षा हुन थालेको चर्चा भइरहेका बेला यी घटनाक्रमले आगामी दिनमा सरकारभित्र थप फेरबदल हुन्छ कि हुँदैन भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

सिंहदरबारमा धर्ना बसेका निहारिका सिंह राजपूत र बिनु कठायत प्रहरी नियन्त्रणमा

काठमाडौं । सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका निहारिका सिंह राजपूत र बिनु कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गृह मन्त्रालयमा पुगेर आफ्ना समस्या प्रत्यक्ष रूपमा राख्न पाउनुपर्ने माग गर्दै उनीहरू सोमबार सिंहदरबार पुगेका थिए।

वर्षाको बीचमा सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले आवश्यक मापदण्डअनुसारको प्रवेश पास नभएको भन्दै गेटमै रोकेको थियो। त्यसपछि दुवै जना दक्षिण गेटमै धर्नामा बसेका थिए।

निहारिकाले आफूहरू आवश्यक प्रक्रिया पूरा गरेर सिंहदरबार प्रवेश गर्न खोज्दा पनि ‘माथिको आदेश’ भन्दै रोकिएको आरोप लगाइन्। उनले भनिन्, ‘हाम्रो लागि यो सरकार होइन ? कोही पीडितलाई गृहमन्त्रीले आफैँ खोजी–खोजी भेट्ने, हामीलाई चाहिँ सिंहदरबारभित्र छिर्न पनि नदिने ? हामी यहीँ धर्ना बस्दै छौँ।’

प्रहरीले भित्र प्रवेश गर्न नदिएपछि बिनु कठायत विरोधस्वरूप सडकमै सुतेकी थिइन्। केहीबेरपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार आवश्यक समन्वय र कानुनी प्रक्रिया पूरा गर्न निहारिका र बिनुलाई प्रहरी वृत्त सिंहदरबार लगिएको छ।

निहारिका सिंह राजपूत विगतदेखि आफ्ना व्यक्तिगत तथा कानुनी मागहरू उठाउँदै विभिन्न सार्वजनिक आन्दोलन गर्दै आएकी छन्। यसपटक पनि गृह मन्त्रालयसमक्ष आफ्ना माग प्रत्यक्ष रूपमा राख्न पाउनुपर्ने अडानसहित उनी सिंहदरबार पुगेकी थिइन्।

 

अमेरिका–भारत व्यापार वार्ता निष्कर्षविहीन

एजेन्सी। अमेरिका र भारतबीच अन्तरिम व्यापार सम्झौता गर्ने उद्देश्यले भएको उच्चस्तरीय वार्ता कुनै निष्कर्षमा पुग्न सकेको छैन। लामो समयदेखि जारी छलफलपछि पनि दुवै देशले प्रमुख मुद्दामा सहमति जुटाउन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

समाचारअनुसार गत महिना नयाँ दिल्लीमा भएको वार्तामा दुवै पक्षले व्यापारिक सहकार्य विस्तारबारे छलफल गरे पनि ट्यारिफ र बजार पहुँचसम्बन्धी विषयमा मतभेद कायम रहेपछि अन्तरिम सम्झौता हुन सकेन।

वार्ताबारे जानकारी राख्ने एक भारतीय अधिकारीका अनुसार भारतले चीनजस्ता प्रतिस्पर्धी मुलुकसरह वा सोभन्दा अनुकूल ट्यारिफ सुविधा माग गरेको थियो। तर, अमेरिकाले त्यसमा सहमति नजनाएपछि भारतले प्रस्तावित अन्तरिम सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेको बताइएको छ।

अमेरिकी व्यापार प्रतिनिधि ज्यामिसन ग्रीर गत महिना भारत भ्रमणमा पुगेर भारतीय अधिकारीहरूसँग व्यापार सम्बन्धका विभिन्न विषयमा छलफल गरेका थिए। उनको भ्रमणपछि दुवै देशबीच अन्तरिम सम्झौता हुने अपेक्षा गरिएको थियो। तर, प्रमुख मुद्दामा सहमति नबन्दा वार्ता निष्कर्षविहीन बनेको हो।

भारतीय अधिकारीले रोयटर्ससँग भनेका छन्, ‘भारतका हित सुरक्षित नहुने वा कृषि क्षेत्रलगायत संवेदनशील विषयमा अनावश्यक सम्झौता गर्नुपर्ने अवस्था आएमा हामी कुनै पनि सम्झौता हतारमा गर्दैनौँ।’

ग्रीरको भ्रमणपछि भारतका वाणिज्यमन्त्री पीयूष गोयलले पनि भारतको हित सुनिश्चित नभएसम्म कुनै व्यापार सम्झौता कार्यान्वयन नगर्ने स्पष्ट पारेका थिए। उनको अभिव्यक्तिलाई अमेरिकाको सम्भावित उच्च ट्यारिफ नीतिप्रति भारतको कडा अडानका रूपमा हेरिएको थियो।

हाल अमेरिकाले भारतबाट आयात हुने अधिकांश वस्तुमा १० प्रतिशत ट्यारिफ लगाउँदै आएको छ। तर, यही महिनाको अन्त्यसम्ममा उक्त ट्यारिफ थप बढ्न सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया, कस्तो छ अवस्था ?

काठमाडौं। चर्चित नेपाली अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरी पूर्ण रूपमा निकालिएको अन्नपूर्ण न्यूरो अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ भने हालसम्म कुनै नयाँ न्युरोलोजिकल जटिलता देखिएको छैन।

अस्पतालले जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिअनुसार असार २३ गते वरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा डा. सुदन ढकाल, डा. नवीन पन्थी, डा. शम्भुबहादुर कार्की, एनेस्थेसिया विभाग तथा नर्सिङ विभागकी आइषा रेग्मी सहितको विशेषज्ञ टोलीले शल्यक्रिया सम्पन्न गरेको हो।

विज्ञप्तिअनुसार शल्यक्रियाका क्रममा मस्तिष्कमा रहेको ट्युमर पूर्ण रूपमा निकाल्न चिकित्सकहरू सफल भएका छन्। शल्यक्रियापछि दीपाश्रीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको र उनी चिकित्सकहरूको निगरानीमा उपचाररत रहेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उनलाई केही दिन अस्पतालमै राखेर नियमित स्वास्थ्य परीक्षण र निगरानी गरिनेछ। निकालिएको ट्युमरको प्रकृति (बायोप्सी) सम्बन्धी परीक्षण भइरहेको छ भने अन्तिम प्रतिवेदन आएपछि आवश्यक परे थप उपचारबारे निर्णय गरिनेछ।

अस्पताल प्रशासनले उपचारका लागि स्वदेशकै स्वास्थ्य संस्थामाथि विश्वास गरेकोमा निरौला र उनको परिवारप्रति आभार व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

अर्थमन्त्री वाग्ले र बालेनबीच खटपट ?

काठमाडौं। प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यसम्पादनप्रति असन्तुष्ट रहेको दाबी गरिएको छ।

यसैबिषयलाई लिएर प्रधानमन्त्री बालेन र पार्टी सभापति रवि लामिछानेबिच भएको पछिल्लो छलफलमा सरकारका केही मन्त्रीको कार्यसम्पादन र अर्थमन्त्री डा. वाग्लेको भूमिकाबारे गम्भीर समीक्षा भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार बालेनले अर्थ मन्त्रालयको आर्थिक नीति, सेयर बजारको अवस्था र समग्र आर्थिक व्यवस्थापनबारे असन्तुष्टि व्यक्त गरेका छन्।

विशेषगरी सेयर बजारमा निरन्तर देखिएको दबाब, निजी क्षेत्रको कमजोर आत्मविश्वास र आर्थिक गतिविधिमा अपेक्षित सुधार हुन नसकेको विषयमा उनले चासो राखेको दाबी गरिएको छ।

‘सरकारले उत्पादन, लगानी र निजी क्षेत्रको मनोबल बढाउने स्पष्ट सन्देश दिनुपर्ने थियो। तर अर्थ मन्त्रालयको प्राथमिकता त्यसअनुसार देखिएन भन्ने प्रधानमन्त्रीको बुझाइ छ,’ प्रधानमन्त्री निकट एक स्रोतले भन्यो।

स्रोतका अनुसार प्रधानमन्त्रीको बुझाइमा सरकारले उत्पादन, लगानी र पुँजी निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने भए पनि अर्थ मन्त्रालयले वैदेशिक ऋण व्यवस्थापन र परम्परागत वित्तीय नीतिमै बढी जोड दिएको छ।

बजेटले अर्थतन्त्रमा नयाँ ऊर्जा सिर्जना गर्न नसकेको तथा लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह गर्न नसकेको विषयमा पनि असन्तुष्टि रहेको बताइएको छ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विषय पनि प्रधानमन्त्रीको चासोमा परेको दाबी गरिएको छ। बोर्डको नियुक्तिलाई लिएर ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सम्बन्धी प्रश्न उठेको तथा नियुक्ति प्रक्रिया पर्याप्त पारदर्शी नभएको विषयमा प्रधानमन्त्रीले चासो व्यक्त गरेको स्रोतको भनाइ छ।

त्यस्तै, पछिल्ला महिनामा नेप्से परिसूचकमा आएको गिरावट, लगानीकर्ताको निराशा र निजी क्षेत्रबाट उठेका गुनासोका कारण सरकारको आर्थिक नेतृत्वमाथि प्रश्न उठिरहेको विषयलाई पनि प्रधानमन्त्रीले गम्भीर रूपमा लिएको दाबी गरिएको छ।

‘सेयर बजारमा देखिएको लगातारको दबाब र निजी क्षेत्रबाट आएका गुनासोले प्रधानमन्त्रीलाई चिन्तित बनाएको छ,’ स्रोतले दाबी गर्‍यो।

यसैबीच, २४ असारमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उद्योगी–व्यवसायीसँग भएको छलफलमा अर्थमन्त्री सहभागी नभएको घटनालाई पनि प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयबीच समन्वय कमजोर भएको संकेतका रूपमा केही राजनीतिक वृत्तमा हेरिएको छ।

उक्त छलफलमा प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिसँग अर्थतन्त्र, लगानी र आर्थिक सुधारका विषयमा प्रत्यक्ष संवाद गरेका थिए।

बीपी स्मृति दिवस : दुई धारमा कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक विवाद अब सार्वजनिक शक्ति प्रदर्शनमा रूपान्तरण हुने संकेत देखिएको छ।

पार्टीका संस्थापन र संस्थापनइतर समूहले बीपी कोइरालाको स्मृति दिवसकै अवसरमा साउन ६ गते छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्ने निर्णय गरेपछि कांग्रेसभित्रको ध्रुवीकरण थप स्पष्ट भएको हो।

पार्टीको संस्थापन पक्षले देशभर सञ्चालन गरिएको ‘जरा अभियान’ को औपचारिक समापन गर्ने तयारी गरेको छ भने संस्थापनइतर समूहले काठमाडौंमा राष्ट्रिय भेलाको तयारी गर्दै आफ्नो शक्ति प्रदर्शन गर्ने रणनीति बनाएको छ। एउटै दिन समानान्तर कार्यक्रम आयोजना गरिनुले कांग्रेसभित्रको विवाद संवादको चरणभन्दा बाहिर पुग्दै गएको संकेत गरेको नेताहरू बताउँछन्।

संस्थापनइतर समूहले चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेर लामो समयदेखि छुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएको छ। अब सोही समूहले बीपी स्मृति दिवसलाई राजनीतिक सन्देश दिने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको स्रोतको भनाइ छ। राष्ट्रिय भेलामार्फत आगामी रणनीति सार्वजनिक गर्ने र संगठनात्मक दिशा तय गर्ने तयारी भइरहेको जनाइएको छ।

यता, पार्टी केन्द्रीय कार्यालयले भने साउन ६ गते ‘जरा अभियान’ सम्पन्न गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ। वैशाख १ गतेदेखि सुरु गरिएको अभियान सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण र संगठन सुदृढीकरणमा केन्द्रित थियो। तर यही सदस्यता व्यवस्थापनको विषय अहिले संस्थापन र इतर पक्षबीचको विवादको मुख्य कारण बनेको छ।

महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले देशभर खटिएका प्रतिनिधिलाई सदस्यता अद्यावधिकको काम तत्काल पूरा गर्न निर्देशन दिइसकेका छन्। उनले सबै वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि तथा बाँकी रहेका सदस्यहरूको विवरण केन्द्रीय कार्यालयमा शीघ्र पठाउन पनि आग्रह गरेका छन्।

दुवै पक्षले एउटै दिन फरक–फरक कार्यक्रम आयोजना गर्न लागेकाले बीपी कोइरालाको लोकतान्त्रिक विरासतभन्दा पनि पार्टीभित्रको शक्ति संघर्ष केन्द्रमा पुगेको टिप्पणी हुन थालेको छ। कांग्रेसका केही नेताहरूका अनुसार यदि नेतृत्व तहमा संवाद र सहमतिको प्रयास प्रभावकारी बन्न सकेन भने आगामी दिनमा संगठनात्मक दूरी अझ बढ्न सक्ने सम्भावना छ।

यद्यपि, कांग्रेसको कुनै पनि पक्षले हालसम्म औपचारिक रूपमा पार्टी विभाजनको घोषणा गरेको छैन। दुवै समूहले आफूहरू पार्टीभित्रै रहेर आफ्ना धारणा अघि बढाइरहेको बताउँदै आएका छन्।

नेपाल बैंकको इन्टरनेट बैंकिङ सेवा साउन १ देखि बन्द

काठमाडौं । नेपाल बैंकले आगामी साउन १ गतेदेखि आफ्नो इन्टरनेट बैंकिङ सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

बैंकले सार्वजनिक सूचना जारी गर्दै सेवा बन्द भएपछि ग्राहकहरूले वैकल्पिक डिजिटल बैंकिङ माध्यम प्रयोग गर्नुपर्ने जनाएको हो।

बैंकका अनुसार हाल इन्टरनेट बैंकिङमार्फत उपलब्ध हुँदै आएका अधिकांश सेवा अब मोबाइल एप तथा बैंकले उपलब्ध गराएको आधिकारिक डिजिटल लगइन प्रणालीमार्फत सञ्चालन गर्न सकिनेछ। यसबाट ग्राहकहरूले दैनिक बैंकिङ कारोबार, रकम स्थानान्तरण, बिल भुक्तानीलगायतका सेवा सहज रूपमा उपयोग गर्न सक्ने बैंकको भनाइ छ।

बैंकले डिजिटल सेवा थप सुरक्षित, प्रभावकारी र आधुनिक बनाउने उद्देश्यले यो परिवर्तन गरिएको जनाएको छ। इन्टरनेट बैंकिङ सेवा बन्द भएपछि ग्राहकहरूले नयाँ प्रणालीमा आबद्ध भई बैंकिङ कारोबार सञ्चालन गर्नुपर्नेछ।

सेवा परिवर्तनका क्रममा ग्राहकलाई केही असुविधा हुन सक्ने उल्लेख गर्दै बैंकले त्यसप्रति क्षमायाचना गरेको छ।

साथै, आवश्यक परे नजिकको शाखा वा बैंकको ग्राहक सेवा केन्द्रबाट थप जानकारी लिन पनि आग्रह गरिएको छ।

राष्ट्र बैंकले १५ अर्बको एकवर्षे ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु. १५ अर्ब बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४–६’ जारी गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार ऋणपत्र अनलाइन बोलकबोल (अक्सन) प्रणालीमार्फत निष्कासन गरिनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागी हुन सक्नेछन्।

यस ऋणपत्रको ब्याजदर पूर्वनिर्धारित हुने छैन। बोलकबोल प्रक्रियाबाट प्रस्तावित ब्याजदरका आधारमा अन्तिम दर तय गरी ऋणपत्र बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

जारी गरिने ऋणपत्रको अवधि एक वर्ष रहनेछ। यसको साँवा २०८४ असार २९ गते एकमुष्ट फिर्ता गरिनेछ भने ब्याज भने प्रत्येक छ–छ महिनामा अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार बोलकबोलमा न्यूनतम रु. ५ करोडका लागि आवेदन दिनुपर्नेछ। त्यसपछि थप आवेदन पनि रु. ५ करोडकै गुणकमा गर्नुपर्नेछ। कुल आह्वान गरिएको रु. १५ अर्बको सीमाभित्र रहेर बोलकबोल गर्न सकिने व्यवस्था छ।

यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितो (कोलाटेरल) का रूपमा प्रयोग गर्न सकिनेछ। साथै, स्वीकृत ऋणपत्र सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा समावेश हुनेछ।

यद्यपि, यो ऋणपत्रलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न भने नमिल्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ। तर, वैधानिक तरलता अनुपात (एसएलआर) तथा खुद तरल सम्पत्ति अनुपात (नेट लिक्विड एसेट रेसियो) गणना गर्दा भने यसलाई समावेश गर्न सकिनेछ।

राष्ट्र बैंकले बोलकबोल प्रक्रियामा आफ्नो इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) लाई मात्र सहभागी हुन अनुमति दिएको छ।

बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न, मौद्रिक नीति कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा वित्तीय प्रणालीमा सन्तुलन कायम राख्न राष्ट्र बैंकले समय–समयमा यस्ता ऋणपत्र जारी गर्दै आएको छ।

राष्ट्रपति हटाउन खोज्दैछन् बालेन ?

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) नेतृत्वको सरकार गठन भएको एक सय दिन बितिसक्दा पनि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता भएकाे छैन।

राष्ट्रपति र प्रधानमन्त्रीको दूरीसँगै राष्ट्रपति हटाउने चर्चा, शीतल निवासमाथिको दबाब र बालेन सरकारको नियतबारे विभिन्न अड्कलबाजी भइरहेका छन्। 

पछिल्ला केही सातादेखि ‘राष्ट्रपति हटाउने तयारी भइरहेको’, ‘शीतल निवासमाथि दबाब बढाइएको’ र ‘सरकारले राष्ट्रपति संस्थालाई कमजोर बनाउन खोजिरहेको’ जस्ता चर्चाले राजनीतिक वृत्तमा तरङ्ग उत्पन्न हुने गरेकाे छ। 

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १२ असारमा विराटनगरमा आयोजित कार्यक्रममा सरकार राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पार्ने गरी दबाब सिर्जना गरिरहेको सूचना आफूले पाएको दाबी गरेका थिए। केही दिनपछि पोखरामा उनले फेरि ‘जेनजी आन्दोलनपछि राजा फर्काउने तयारीसमेत भएको थियो’ भन्दै अर्को विवादास्पद अभिव्यक्ति दिए।

यी अभिव्यक्तिलाई सामान्य राजनीतिक टिप्पणीभन्दा पनि सरकार र शीतल निवासबीचको पछिल्लाे सम्बन्धसँग जोडेर हेरियो।

प्रधानमन्त्री र राष्ट्रपतिबीच किन बढ्यो दूरी?

प्रधानमन्त्री बालेन्द्र शाहले चैत १३ गते पद तथा गोपनीयताको शपथ लिएयता राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक भेट नगरेको विषय राजनीतिक वृत्तमा निरन्तर चर्चामा रहँदै आएको छ। सामान्यतः प्रधानमन्त्री र राष्ट्रपतिबीच समय–समयमा औपचारिक भेटवार्ता हुने अभ्यास रहँदै आएकोमा यसपटक लामो समयसम्म त्यस्तो संवाद नहुनुलाई धेरैले असामान्य घटनाका रूपमा लिएका छन्।

यही अवधिमा सरकारले पठाएका केही अध्यादेश र निर्णयहरू राष्ट्रपति कार्यालयबाट पुनर्विचारका लागि फिर्ता भएका थिए। मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी सिफारिसमा संवैधानिक त्रुटि देखिएको भन्दै शीतल निवासले सच्याउन आग्रह गरेको थियो। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे पनि राष्ट्रपतिले थप अध्ययन आवश्यक रहेको संकेत दिएका थिए।

सरकार समर्थक केही वृत्तले यसलाई राष्ट्रपतिको अनावश्यक सक्रियता भने भने, संवैधानिक कानुनका जानकारहरूले भने राष्ट्रपति संविधानको संरक्षक भएकाले आवश्यक स्पष्टीकरण वा सुधार माग्नु उनको अधिकार भएको बताएका छन्।

राष्ट्रपति हटाउने चर्चाले थप बल पाउनुमा पछिल्लो समय दरबार हत्याकाण्डको अनुसन्धान पुनः उठाइएको विषयलाई पनि जोडेर हेरिएको छ। अनुसन्धानको प्रसंगसँगै तत्कालीन गृहमन्त्रीका रूपमा रामचन्द्र पौडेलको भूमिका उठाउनुपर्ने माग केही राजनीतिक वृत्तबाट आयो। यसलाई कतिपय विश्लेषकहरूले राष्ट्रपति संस्थामाथि राजनीतिक दबाब सिर्जना गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।

शीतल निवास निकट स्रोतहरूले भने हालसम्म राष्ट्रपतिलाई राजीनामा दिन वा पद छाड्न कुनै औपचारिक दबाब नआएको बताएका छन्। यद्यपि राजनीतिक रूपमा राष्ट्रपति संस्थाप्रति असन्तुष्टि देखिने गतिविधि बढेको उनीहरूको बुझाइ छ।

के राष्ट्रपतिलाई हटाउन सम्भव छ?

संवैधानिक रूपमा हेर्दा राष्ट्रपति हटाउने प्रक्रिया निकै जटिल छ। नेपालको संविधानको धारा १०१ अनुसार राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न प्रतिनिधिसभाका कम्तीमा एकचौथाइ सदस्यको समर्थन आवश्यक पर्छ। प्रस्ताव पारित हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका तत्काल कायम सदस्यहरूको कम्तीमा दुईतिहाइ बहुमत अनिवार्य हुन्छ।

यसको अर्थ, कुनै एक सरकार वा एउटा दलको चाहनाले मात्र राष्ट्रपतिलाई पदमुक्त गर्न सकिँदैन। संघीय संसद्को दुवै सदनमा पर्याप्त राजनीतिक समर्थनबिना यस्तो प्रक्रिया सफल हुन सक्ने अवस्था छैन।

राजनीतिक विश्लेषकहरूका अनुसार राष्ट्रपति हटाउने चर्चा वास्तविक संवैधानिक प्रक्रियाभन्दा पनि राजनीतिक दबाब सिर्जना गर्ने रणनीतिका रूपमा प्रयोग भइरहेको हुन सक्छ। राष्ट्रपतिले केही निर्णयमा सरकारलाई पुनर्विचार गर्न लगाएको, केही अध्यादेश तत्काल स्वीकृत नगरेको र संवैधानिक प्रक्रियामा कडाइ अपनाएको विषय सत्तापक्षलाई असहज लागेको हुन सक्ने उनीहरूको विश्लेषण छ।

यसैकारण राष्ट्रपति हटाउने हल्ला बेला–बेलामा सार्वजनिक गरेर शीतल निवासलाई मनोवैज्ञानिक दबाबमा राख्ने प्रयास भएको हुन सक्ने अनुमान पनि गरिएको छ।

हालसम्म राष्ट्रपति हटाउने विषयमा कुनै औपचारिक प्रक्रिया अघि बढेको छैन। सरकारका तर्फबाट पनि यसबारे सार्वजनिक धारणा आएको छैन। तर प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रपति रामचन्द्र पौडेलबीच लामो समयदेखि प्रत्यक्ष संवाद नहुनु, केही संवैधानिक विषयमा देखिएको मतभेद तथा राजनीतिक अभिव्यक्तिले सत्ता र शीतल निवासबीच सम्बन्ध सहज नरहेको संकेत भने गरेको विश्लेषकहरु बताउँछन्। 

यद्यपि नेपालको संविधानले राष्ट्रपतिलाई हटाउने स्पष्ट प्रक्रिया तोकेको र त्यसका लागि व्यापक राजनीतिक सहमति आवश्यक पर्ने भएकाले तत्काल यस्तो अवस्था सिर्जना हुने सम्भावना कम देखिन्छ।

२१३औँ भानु जयन्ती मनाइँदै

काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइरहेको छ।

प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा साहित्यकार, प्राज्ञ, लेखक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ।

भानु जयन्तीको अवसरमा प्रभातफेरी कार्यक्रमसमेत आयोजना गरियो।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा,साहित्य र संस्कृतिमा पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ।

तस्वीरहरू:

नयाँ राष्ट्रवादी पार्टी बनाउने गृहकार्यमा धवलशम्सेर र दुर्गा

काठमाडौं। डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा बन्न लागेको प्रस्तावित नयाँ राजनीतिक दलको गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रप्रेमी र देशभक्तको छवी बनाएका नेता, राजनीतिक दल र अभियन्ताहरु नयाँ बन्ने राष्ट्रवादी पार्टीमा जोडिने क्रम बढ्दो छ ।

‘नयाँ पार्टी गठन गर्नका लागि आवश्यक सबै तयारीहरु अन्तिम चरणमा पुगेको छ, दल दर्ताका लागि अब हामी चाँडै निर्वाचन आयोग जानेछौं,’ प्रस्तावित दलका नेता डा. धवलशम्सेर राणाले संचारकर्मीहरुसँग कुरा गर्दै भने ।

राणाका अनुसार, दल दर्ताका लागि आवश्यक विधान, हस्ताक्षर संकलन लगायत सबै कुरा टुंगिन लागेको छ ।

‘देशभरीबाट र प्रवास रहेका नेपालीहरुबाट पनि हामीलाई सुभेच्छा प्राप्त भएको छ । देशलाई माया गर्ने तमाम राजनीतिक दल, अभियानहरु सम्पर्कमा आउनु भएको छ । राष्ट्रवादी प्रजातान्त्रिक दल गठन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ, अत्यन्तै उत्साहजनक माहोल छ,’ प्रस्तावित नयाँ दलका सचिवालय प्रमुख सगुन सन्दर लावतीले भने ।

यस अघि राष्ट्रवादी धारको प्रतिनिधित्व गर्ने दल र नेताहरुबाट मतदातालाई झुक्याउने काम भएको जनगुनासो छ । भनाइ र गराइ बीच अन्तर गर्ने, राजाको नाम भजाएर मन्त्री खाने, पैसा कमाउने र गणतन्त्रवादीहरुको पछि लागेर राजसंस्थावादी आन्दोलन तुहाउने काम गरेको भन्दै ठूलो आलोचना भएको छ ।

यसैबीच अब बन्ने नयाँ राष्ट्रवादी दलले यो अभाव मेट्दै जनताको विश्वास जित्ने राजनीतिक वृत्तमा चर्चा छ ।

बालेन क्याबिनेटका मन्त्री हेरफेरको चर्चा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच दुई दिनदेखि लगातार भेटवार्ता भएको छ।

शनिबार र आइतबार दुई नेताबीच लामो समयसम्म समसामयिक राजनीतिक विषयमा छलफल भएको रास्वपा स्रोतले जनाएको छ।

स्रोतका अनुसार छलफलमा मन्त्रिपरिषद् पुनर्गठन, प्रधानमन्त्रीको सचिवालयलाई थप प्रभावकारी बनाउने विषय तथा सुकुम्बासी समस्याको दीर्घकालीन समाधानबारे विशेष रूपमा कुराकानी भएको छ।

स्रोतले भन्यो , ‘ प्रधानमन्त्री र सभापतिबीच मन्त्रीपरिषद हेरफेरको कुरा भयो। प्रधानमन्त्रीको सचिवालयलाई समेत अझ चुस्त दुरुस्त बनाउने गृहकार्य भइरहेको छ।’

स्रोतका अनुसार पछिल्लो समय सरकारको कार्यसम्पादन, सचिवालयको संरचना तथा विभिन्न समसामयिक मुद्दालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री र पार्टी नेतृत्वबीच नियमित परामर्श भइरहेको छ।

यद्यपि, मन्त्रिपरिषद् हेरफेर वा सचिवालय पुनर्गठनबारे सरकार वा रास्वपाले अहिलेसम्म औपचारिक निर्णय सार्वजनिक गरेका छैनन्।

टाेपबहादुर रायमाझी, टेकनारायण पाण्डे र इन्द्रजित राईलाई सजाय ताेकिँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईलाई मुख्य कसुरदार ठहर गरेको थियो।

त्यस्तै, पूर्वगृहमन्त्री बालकृष्ण खाण र शरणार्थी नेता टेकनाथ रिजालसहित अन्य केही प्रतिवादीलाई मतियारका रूपमा दोषी ठहर गरिएको थियो।

नेपालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा कसुर ठहर भएको ३० दिनभित्र सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार अदालतले आज सजाय निर्धारणका लागि पेसी तोकेको हो।

अदालतले जिल्ला सरकारी वकिल कार्यालय तथा प्रतिवादी पक्षका कानुन व्यवसायीलाई सजायपूर्वको प्रतिवेदन र अन्य आवश्यक प्रक्रिया पूरा गर्न निर्देशनसमेत दिएको छ।

आजको सुनुवाइपछि दोषी ठहर भएका प्रतिवादीहरूले पाउने कैद तथा जरिवानाको अन्तिम टुंगो लाग्ने अपेक्षा गरिएको छ।

पहिराेले पुरिँदा आमाकाे मृत्यु, छाेरी र नातिनीकाे सकुशल उद्धार

काठमाडाैं । जाजरकोटमा पहिरोमा पुरिएर आमाकाे मृत्यु भएको छ। छाेरी र नातिनीकाे सकुशल उद्धार गरिएकाे छ ।

भेरी नगरपालिका-२ राङ्सी बस्ने करिब ६० वर्षीया जयशीला शाहको पहिरोले पुरिँदा मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार उनका घटनामा उनकी ४० वर्षीया छोरी मेनुका शाह थापा र नातिनी ७ वर्षीया टिका थापालाई पहिरोबाट सकुशल उद्धार गरिएको छ ।

गएराति उनीहरू बास बसेको अस्थायी टहरोलाई पहिरोले पुर्दा घटना भएको हो।

धन्नले ज्यान जाेगाए चालकले, ट्रक बगायाे खाेलाले

मकवानपुर । मकवानपुरको कर्रा खोलामा सोमबार बिहान आएको आकस्मिक बाढीले गुडिरहेको ट्रक बगाएको छ।

ट्रक खोलाले बगाए पनि चालक भने पौडिएर सकुशल ज्यान जोगाउन सफल भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ७ः४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्रीमा ढुंगा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक ह्युमपाइप राखेर बनाइएको कल्भर्ट (लच्का) तर्ने क्रममा एक्कासि कर्रा खोलामा पानीको बहाव बढेपछि बाढीले ट्रक बगाएको हो।

मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार ट्रक बग्न थालेपछि चालक चितवनको रत्ननगर नगरपालिका-१३ निवासी ३४ वर्षीय दीपक थिङले तत्काल ट्रकबाट हाम फालेर पौडिँदै आफ्नो ज्यान जोगाएका हुन्। उनको खुट्टामा सामान्य चोट लागेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट हटिया र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घाइते चालकलाई चौघडास्थित राजु मेडिकलमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा अन्य कुनै मानवीय क्षति भएको छैन। बाढीले बगाएको ट्रक भने खोलामै रहेको र त्यसलाई निकाल्ने प्रयास भइरहेको छ।

जनकपुरबाट काठमाडौँ पैदलमार्च थालेका मिटरब्याज पीडितका माग के के छन्?

 

 

 

 

 

 

दाेलखामा पहिरोमा पुरिइन् चार महिने शिशु, आमा गम्भीर घाइते

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका-१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड्काका अनुसार गएराति करिब ९ बजे गएको पहिरोमा परी चार महिनाकी एलिना थामीको मृत्यु भएको हो। उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन्।

प्रहरीका अनुसार भिमेश्वर नगरपालिका-१ सुस्पास्थित माइतीबाट बोलेरो गाडीमा घर फर्किरहेका उनीहरू सुनखानी-साङवा सडकखण्डअन्तर्गत क्याङ्पोल हेलेक्पाथाली क्षेत्रमा पुगेका थिए।

सो स्थानमा पहिरोले सडक अवरुद्ध गरेपछि गाडीबाट ओर्लिएर पैदल हिँड्ने क्रममा माथिबाट आएको अर्को पहिरोमा उनीहरू परेका थिए।

स्थानीयवासीले तत्काल उद्धार गरी दुवैलाई दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पताल पुर्‍याएका थिए। अस्पताल पुगेलगत्तै चिकित्सकले चार महिनाकी एलिनालाई मृत घोषणा गरेका थिए।

गम्भीर घाइते शर्मिलाको प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।

चौतर्फी घेराबन्दीमा बालेन सरकार, निम्तिँदै संकट

काठमाडौं।  गठन भएकाे चार महिना नपुग्दै प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमाथि चौतर्फी दबाब बढ्दै गएको छ। सरकार गठनका बेला गरिएको सुशासन, सामाजिक न्याय र जनउत्तरदायित्वका प्रतिबद्धता कार्यान्वयन हुन नसकेको आरोपसँगै विभिन्‍न समूह सडक आन्दोलनमा उत्रिएका छन्।

सुकुम्वासी व्यवस्थापनमा देखिएको अन्योल, मिटरब्याजपीडितको पुनः काठमाडौं केन्द्रित आन्दोलन, गणेश नेपालीको मृत्यु प्रकरण र जेन-जी आन्दोलनमा सहभागी युवाहरूको प्रदर्शनले सरकारलाई एकैसाथ घेराबन्दीमा पारेको छ।

सरकारले कार्यभार सम्हालेकै दिन स्वीकृत १०० दिने शासकीय सुधार कार्यसूचीमा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन दुई महिनाभित्र सक्ने, एक हजार दिनभित्र दीर्घकालीन व्यवस्थापन गर्ने तथा स्थानीय तहसँग समन्वय गरेर पुनर्वास गर्ने प्रतिबद्धता जनाएको थियो।

तर, समयसीमा पूरा नहुँदै काठमाडौंका नदी किनारका बस्ती हटाउने अभियान सुरु गरियो। वैशाख १२ गतेदेखि डोजर अभियान सञ्चालन गर्दै दुई साताभित्र वास्तविक सुकुम्वासीको पहिचान गरी स्थायी व्यवस्थापन गर्ने आश्वासन दिइए पनि व्यवहारमा त्यो पूरा हुन सकेको छैन।

दुई साताका लागि होल्डिङ सेन्टरमा राखिएका परिवार तीन महिनापछि पनि स्थायी बसोबासको प्रतीक्षामा छन्।

कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रममा राखिएका परिवार बाढीपछि भक्तपुरको खरिपाटी सारिएका छन्। हाल खरिपाटीमा १४९ जना सुकुम्वासी अस्थायी रूपमा बसिरहेका छन्।

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार प्रधानमन्त्री बालेनले सुकुम्बासी समस्या समाधान गर्न सकेनन् । उनले मन्त्रीहरूले होल्डिङ सेन्टर आएर आश्वासन दिएकाे तर पूरा गर्नेमा संयश प्रकट गरे ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिलामन्त्री प्रतिभा रावलले भने प्रक्रिया जटिल भएकाले समय लागेको बताउँदै जग्गा पहिचानसहितका सबै प्रक्रिया पूरा गरेर समाधान गरिने बताएकी छन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीभित्रैबाट पनि सरकारको कार्यशैलीमाथि प्रश्न उठेको छ। रास्वपा सांसद रञ्जु दर्शनाले लगत संकलनअघि बस्ती हटाउने निर्णय सरकारको कमजोरी भएको स्वीकार गरेकी छन्।

उनले भनिन्, ‘सुकुम्वासी व्यवस्थापनको विषयमा १०० दिने कार्यसूचीको बुँदा ९१ भन्दा अघि ९२ लागू गरियो। दूध चुसाइरहेकी आमा, सुत्केरी र वृद्धवृद्धालाई पनि एउटै व्यवहार गरियो। यो काम सरकारको तर्फबाट ठीक ढंगले भएन।’

सरकारमाथिको अर्को दबाब मुगुका गणेश नेपालीको मृत्यु प्रकरणले थप चर्काएको छ। काठमाडौं महानगर प्रहरीको व्यवहारका कारण उनले आत्मदाह गर्नुपरेको आरोप लगाउँदै नागरिकहरू सडकमा उत्रिएका छन्।

उपचारका क्रममा उनको निधन भएपछि सरकारको कार्यशैलीमाथि सदन, सडक र सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ।

प्रधानमन्त्री बालेन शाह तथा रास्वपाको शीर्ष नेतृत्वबाट औपचारिक प्रतिक्रिया नआएको भन्दै आलोचना भइरहेको छ।

यद्यपि आइतबार गणेश नेपालीका परिवार र नेपाल सरकार (काठमाडौं महानगरपालिकासहित) बीच नौबुँदे सहमति भएको छ।

सहमतिअनुसार पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिने, सात दिनभित्र प्रतिवेदन बुझाइने, प्रतिवेदनका आधारमा सहिद घोषणा सम्बन्धी प्रक्रिया अघि बढाइने, घटनामा संलग्न महानगर प्रहरीलाई तत्काल निलम्बन गरी थप कारबाही गरिने उल्लेख छ।

मृतककी श्रीमतीलाई महानगरमा रोजगारी, छोरीको उच्च शिक्षाको सम्पूर्ण खर्च, राहत रकम, स्वास्थ्य बीमा तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने सहमति पनि भएको छ।

यससँगै आन्दोलन स्थगित भए पनि घटनाले सरकारको संवेदनशीलता र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

सरकार अर्को मोर्चामा मिटरब्याजपीडितको आन्दोलनबाट पनि दबाबमा परेको छ। २०८० फागुनमा तत्कालीन गृहमन्त्री रवि लामिछानेको पहलमा भएको चारबुँदे सहमति कार्यान्वयन नभएको भन्दै ३५ जिल्लाका करिब ४०० पीडित पुनः जनकपुरबाट काठमाडौंतर्फ पैदल यात्रा गरिरहेका छन्।

दैनिक २० देखि २६ किलोमिटर हिँड्दै राजधानी आउँदै गरेका उनीहरूले न्यायका लागि फेरि काठमाडौं धाउनुपरेको गुनासो गरेका छन्।

यो आन्दोलनले प्रधानमन्त्री बालेन शाहकै पुरानो प्रतिबद्धतामाथि पनि प्रश्न उठाएको छ। प्रधानमन्त्री बन्नुअघि उनले मधेशका नागरिक न्यायका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्ने वाचा गरेका थिए। तर अहिले त्यही क्षेत्रका पीडितहरू फेरि न्यायको खोजीमा राजधानी आउन बाध्य भएका छन्।

यता, वर्तमान सरकार निर्माणमा निर्णायक मानिएको जेन-जी आन्दोलनमा सक्रिय युवाहरू पनि सरकारविरुद्ध सडकमा उत्रिएका छन्। उनीहरूले सरकारले परिवर्तन र सुशासनको वाचा पूरा गर्न नसकेको आरोप लगाउँदै प्रदर्शन गरेका हुन्।

सिरहामा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका-७ स्थित पुरानो चौक चोहर्वास्थित पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा अवास शेखकी १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार खेल्ने क्रममा उनीहरू पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका हुन्। 

‘अहिले हाम्रो टोली घटनास्थलमा छ, विस्तृत विवरण प्राप्त हुन बाँकी छ,’ जिल्ला प्रहरी कार्यालय सिरहाका एक प्रहरीले भने।

नेपाली राष्ट्रियताको भाषिक जग : आदिकवि भानुभक्त आचार्य

नेपाल आमाको कोखबाट समय-समयमा इतिहासलाई नयाँ गति दिने असाधारण व्यक्तित्वहरूको जन्म भएको छ। कला, साहित्य, संस्कृति, दर्शन, राजनीति र सामाजिक रूपान्तरणका क्षेत्रमा उनीहरूले दिएको योगदानले नेपालको राष्ट्रिय पहिचानलाई समृद्ध बनाएको छ। यिनै विभूतिहरूमध्ये नेपाली साहित्यका आकाशमा ध्रुवताराजस्तै चम्कने व्यक्तित्व हुन्, – आदिकवि भानुभक्त आचार्य।

वि.सं. १८७१ असार २९ गते आइतबार तनहुँ जिल्लाको चुँदी रम्घामा जन्मिएका भानुभक्तका पिता धनञ्जय आचार्य सरकारी सेवामा खरदार थिए भने माता धर्मावती आचार्य धार्मिक संस्कारले सम्पन्न महिला थिइन्। बाल्यकालदेखि नै संस्कृतका प्रकाण्ड विद्वान् बाजे श्रीकृष्ण आचार्यको सान्निध्यमा हुर्किएका उनले व्याकरण, काव्य, वेदान्त, ज्योतिष र संस्कृत साहित्यको गहन अध्ययन गरे। मात्र १२ वर्षको उमेरमै ज्योतिषशास्त्रका सूक्ष्म विषय बुझ्ने क्षमता विकास गरिसकेका भानुले गुरुकुलीय परम्परा र स्वाध्यायबाट प्राप्त यही विद्वत्ताको आधारमा भविष्यमा नेपाली साहित्यलाई नयाँ युगतर्फ डोर्‍याउने सामर्थ्य हासिल गरे।

नेपाली साहित्यको इतिहासमा भानुभक्त आचार्यलाई ‘आदिकवि’ भनिनुको अर्थ उनी नेपाली भाषाका इतिहासकै सबैभन्दा पहिलो कवि हुन् भन्ने कदापि होइन। भानुभक्तभन्दा अगाडि पनि सुवानन्द दास, शक्तिवल्लभ अर्याल, उदयानन्द अर्याल जस्ता थुप्रै प्राथमिक कालीन कविहरू थिए। तथापि, ती रचनाहरू सीमित दायरामै रहे।

कवि भानुभक्तले भने छरिएर रहेका टुटफुट र फुटकर कविताको जगमा उभिएको नेपाली साहित्यलाई ‘रामायण’ जस्तो विशाल ग्रन्थ रचना गरी नेपाली भाषालाई राष्ट्रिय एकताको सुत्रमा बाँधे। त्यसकारण नेपाली भाषालाई पहिलोपटक व्यापक साहित्यिक प्रतिष्ठा दिलाउने, जनभाषालाई काव्यको माध्यम बनाउने तथा नेपाली साहित्यको सशक्त परम्परा स्थापित गर्ने श्रेय उनैलाई जान्छ। त्यसैले नेपाली साहित्यका युवाकवि मोतीराम भट्टले वि.स. १९४८ मा भानुभक्तको जीवनी प्रकाशन गरेर उनलाई सर्वप्रथम ‘आदिकवि’ को उपाधि प्रदान गरेका थिए। आज आदिकवित्वको विषयमा विद्वत् बहस भए पनि नेपाली साहित्यको प्राथमिक कालका प्रतिनिधि कविका रूपमा लाक्षणिक र गुणात्मक अर्थमा उनी सर्वस्वीकार्य आदिकवि हुन्।

इतिहासमा कहिलेकाहीँ एउटा सामान्य भेटले असाधारण परिवर्तनको सुरुआत गर्छ। भानुभक्तको जीवनमा घाँसीसँगको भेट त्यस्तै घटना थियो। संस्कृत साहित्यका आदिकवि वाल्मीकि, महाकवि कालिदासको काव्यशक्ति र आफ्नै पितृपरम्पराबाट प्रभावित भई उनीभित्र कवित्वको बीजारोपण भइसकेको थियो। तर त्यो प्रतिभालाई जनसेवामुखी साहित्यतर्फ मोड्ने प्रेरणा एउटा साधारण घाँसीबाट प्राप्त भयो। परिवारको जीविकोपार्जन गर्दै बचेको थोरै रकमले गाउँमा सार्वजनिक कुवा खन्ने र समाजका लागि स्थायी कीर्ति छोड्ने घाँसीको सोचले भानुभक्तलाई गहिरो आत्मबोध गरायो। धन, विद्वत्ता वा कुलीनता भन्दा समाजोपयोगी कर्म नै मानिसको अमर परिचय बन्ने सत्य उनले त्यही दिन अनुभूत गरे। त्यसैको परिणामस्वरूप नेपाली साहित्यमा अमर बनेका यी पङ्क्तिहरू जन्मिए,

भर जन्म घाँसतिर मन् दिई धन कमायो ।
नाम केही रहोस् पछि भनेर कुवा खनायो ॥

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनी भईकन आज यस्तो ॥

त्यसपछि उनले आफ्नो जीवनलाई केवल व्यक्तिगत सुखमा सीमित नराखी लोककल्याणकारी साहित्य सिर्जनामा समर्पित गर्ने अठोट गरे। यही भावलाई उनले ‘धिक्कार होस् मकन बस्नु नराखी कीर्ति’ भन्ने जीवनदर्शनमार्फत अभिव्यक्त गरेका छन्। वास्तवमा यही क्षण भानुभक्तको कविजीवनको वास्तविक जन्मक्षण थियो।

त्यस समय संस्कृत भाषाको प्रभुत्व थियो। धार्मिक ग्रन्थहरू विद्वान् पण्डितहरूको सीमित घेराभित्र मात्र सीमित थिए। संस्कृत नजान्ने सामान्य नेपाली जनताले रामायणजस्तो महान् ग्रन्थको सार बुझ्न सक्ने अवस्था थिएन। भानुभक्तले यही सामाजिक यथार्थलाई गहिरो रूपमा आत्मसात् गरे। धर्म, नैतिकता र आदर्श जीवनका मूल्यहरू सबै नेपालीको पहुँचमा पुग्नुपर्ने विश्वासका साथ उनले संस्कृतको अध्यात्मरामायणलाई नेपाली भाषामा रूपान्तरण गर्ने ऐतिहासिक निर्णय गरे।

वि.सं. १८९८ मा उनले बालकाण्डको रचना गर्दै नेपाली रामायण लेखनको प्रारम्भ गरे। वि.स. १९०६ मा न्यायिक कामका सिलसिलामा काठमाडौँ आएका भानुभक्त पछि वि.स. १९०७ मा सरकारी सेवामा आबद्ध भए। तर हिसाब–किताबसम्बन्धी विवादका कारण उनी कुमारीचोकको भ्यालखान (कारागार) मा कैद हुन पुगे। सामान्यतः कारागारलाई सिर्जनशीलताको अन्त्य हुने स्थान मानिए पनि भानुभक्तका लागि त्यही स्थान साधना र सृजनाको तपोभूमि बन्यो। पाँच महिनाको कैद अवधिमा उनले अयोध्याकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्डको रचना गरे। जेलजीवनको यथार्थलाई उनले व्यङ्ग्यात्मक शैलीमा यसरी व्यक्त गरेका छन्,

‘रोज् रोज् दर्शन पाउँछू चरणको ताप छैन मन्मा कछू ।
रातभर नाच पनि हेर्छू खर्च नगरी ठूला चैनमा म छु ॥
लामखुट्टे, उपियाँ, उडुस् यी सङ्गी छन् यिनकै लहडमा बसी ।
लामखुट्टेहरू गाउँछन्, यी उपियाँ नाच्छन्, म हेर्छू बसी ॥’

जेलमुक्त भएपछि उनले युद्धकाण्ड र उत्तरकाण्ड पूरा गर्दै करिब एघार वर्षको निरन्तर साधनापछि नेपाली साहित्यको अमूल्य निधि रामायणलाई पूर्णता दिए।

भानुभक्तको साहित्यिक योगदान रामायणमा मात्र सीमित छैन। वि.सं. १९१० तिर उनले प्रश्नोत्तरी र भक्तमाला जस्ता कृतिहरू रचे। त्यस्तै वि.स. १९१९ तिर काठमाडौँबाट आफ्नो जन्मथलो तनहुँ फर्कने क्रममा बाटोमा तारापति उपाध्यायको घरमा बास बस्दा त्यहाँको पारिवारिक परिवेशमा सासू–बुहारीको ‘वाझावाझ’ (झगडा) प्रत्यक्ष सुनेर उनले एकै रातमा ३३ श्लोक भएको ‘वधूशिक्षा’ नामक औपदेशिक कविता लेखे। यो कविताले नेपाली समाजको पारिवारिक शान्ति, मर्यादा र महिलाका कर्तव्यहरूलाई तत्कालीन सामाजिक मर्यादाको कसीमा राखेर प्रस्तुत गरेको छ।

जीवनको अन्तिम क्षणमा वि.सं. १९२५ मा कडा रोगले समातेर रोगशय्यामा थला परेका बेला पनि उनको काव्यचेतना मरेन। मरणान्तक कष्टकै बीच उनले ‘रामगीता’को रचना गरे, जुन उनी मुखले श्लोक भन्दै गए र उनका एकमात्र पुत्र रमानाथ आचार्यले ओछ्यानको छेउमा बसेर लिपिबद्ध गर्दै गए। जीवनको अन्तिम चरणमा पनि उनको साहित्यसाधना रोकिएन। सोही वर्ष आश्विन ६ गतेका दिन चुँदी रम्घामै उनको निधन भयो। यसले साहित्यप्रतिको उनको अनवरत साधना र समर्पणलाई प्रमाणित गर्छ।

उनले अनावश्यक क्लिष्टता, अत्यधिक आलङ्कारिकता वा दुरूह अभिव्यक्तिको सट्टा जनताले बोल्ने र बुझ्ने नेपाली भाषालाई काव्यको माध्यम बनाए। यही कारण उनका श्लोकहरू विद्वान् मात्र होइन, सामान्य किसान, गृहिणी, विद्यार्थी र गाउँका ज्येष्ठ नागरिकसम्मको स्मृतिमा आज पनि जीवित छन्। भाषा त्यतिबेला मात्र राष्ट्रिय सम्पत्ति बन्छ, जब त्यसले समाजका सबै वर्गलाई समान रूपमा सम्बोधन गर्न सक्छ। भानुभक्तको साहित्यले यही ऐतिहासिक भूमिका निर्वाह गरेको देखिन्छ।

विशेषतः शार्दूलविक्रीडित, शिखरिणी, वसन्ततिलका लगायतका छन्दलाई नेपाली भाषाको स्वाभाविक लयअनुकूल प्रयोग गर्नु भानुभक्तको उल्लेखनीय उपलब्धि हो। उनले छन्दको नियम र अनुशासनलाई कायम राख्दै भावलाई सरल, सहज र प्रभावकारी बनाएका छन्। छन्द र भाषाबीचको यही सन्तुलनले उनको काव्यलाई सरस, कर्णप्रिय र जनप्रिय बनाएको छ। सायद त्यसैले नेपालभित्र मात्र नभई दार्जीलिङ, सिक्किम, आसामदेखि विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका लागि उनी आज पनि ‘जातीय कवि’ र भाषिक पहिचानको प्रतीकका रूपमा सम्मानित छन्।

यद्यपि भानुभक्तको साहित्यलाई आलोचनात्मक दृष्टिले पनि हेर्न आवश्यक छ। केही आधुनिक समीक्षकहरूले वधूशिक्षा जस्ता कृतिमा तत्कालीन पितृसत्तात्मक सामाजिक मूल्यहरूको प्रभाव रहेको टिप्पणी गरेका छन्। त्यस्तै रामायण अनुवादात्मक कृति भएकाले त्यसमा मौलिकताको सीमा रहेको तर्क पनि गरिन्छ। यस्ता आलोचनाहरू साहित्यिक विमर्शका स्वाभाविक अंश हुन्। तर उपलब्ध ऐतिहासिक सन्दर्भलाई हेर्दा भानुभक्तको मूल उद्देश्य समाजलाई नैतिक शिक्षा, धार्मिक चेतना र भाषिक एकताको साझा आधार प्रदान गर्नु थियो। त्यसैले उनको मूल्याङ्कन आजको सामाजिक मापदण्डले मात्र होइन, उनी बाँचेको युग, त्यस समयको समाज र भाषिक अवस्थालाई केन्द्रमा राखेर गरिनु बढी न्यायोचित हुन्छ।

आजको डिजिटल युगमा भाषा र संस्कृतिमाथि नयाँ चुनौतीहरू देखा परेका छन्। विश्वव्यापीकरण, प्रविधिको तीव्र विकास र विदेशी भाषाको बढ्दो प्रभावका कारण नयाँ पुस्ता आफ्नै भाषिक सम्पदाबाट क्रमशः टाढिँदै गएको चिन्ता व्यक्त गरिन्छ। विदेशी भाषा सिक्नु आधुनिक विश्वको आवश्यकता हो, तर त्यसका नाममा आफ्नै मातृभाषाको उपेक्षा गर्नु सांस्कृतिक आत्मविश्वासको क्षय हो। भानुभक्तको जीवनले सिकाएको पाठ यही हो- विश्वसँग संवाद गर्न अनेक भाषा सिक्न सकिन्छ, तर आफ्नो पहिचानको आधार भने आफ्नै भाषा हुन्छ। आफ्नै मातृभाषा र समृद्ध राष्ट्रभाषाको चीरहरण गरेर, आफ्नै पहिचानको जग भत्काएर पराईको बैसाखी टेक्नु आत्मघाती विडम्बना र सांस्कृतिक दासता मात्र हो।

घाँसीबाट प्राप्त लोकहितको प्रेरणा, कारागारभित्रको अदम्य साधना, रामायणमार्फत जनभाषाको उत्थान र सरल भाषाशैलीद्वारा साहित्यलाई जनजीवनसँग जोड्ने उनको योगदान नेपाली इतिहासको अमिट सम्पत्ति बनेको छ। आज भानुभक्तप्रतिको सच्चा श्रद्धाञ्जलि उनको तस्बिरमा माल्यार्पण गर्नु मात्र होइन; नेपाली भाषाको शुद्धता, समृद्धि र सिर्जनशीलतालाई नयाँ पुस्तासम्म जीवन्त राख्नु हो।

किनभने भाषा जोगियो भने इतिहास जोगिन्छ, इतिहास जोगियो भने पहिचान जोगिन्छ, र पहिचान जोगियो भने मात्र राष्ट्रको आत्मा दीर्घकालसम्म जीवित रहन्छ।

गणेश नेपाली घटनापछि सडकबाट गायब नगर प्रहरी, अस्तव्यस्त बन्न थाल्यो न्युरोड

काठमाडौं । केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी न्युरोडसहित राजधानीका विभिन्न व्यस्त क्षेत्रमा नियमित रूपमा खटिएर फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन गरिरहेका थिए। महानगरले पैदलयात्रीका लागि फुटपाथ खाली राख्ने नीति अपनाउँदै दिउँसोको समयमा फुटपाथमा व्यापार गर्न कडाइ गरेको थियो भने व्यापारका लागि निश्चित समयसमेत तोकेको थियो।

तर आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि नगर प्रहरीको सडक उपस्थितिमा उल्लेख्य कमी आएको देखिएको छ। पछिल्ला केही दिनयता न्युरोड, असन, इन्द्रचोकलगायतका मुख्य व्यापारिक क्षेत्रमा नगर प्रहरीको सक्रियता पहिलेको तुलनामा घटेको स्थानीय व्यवसायी तथा सर्वसाधारणले बताएका छन्।

महानगरका एक नगर प्रहरी कर्मचारीका अनुसार उक्त घटनापछि नगर प्रहरीमाथि आक्रमण हुन सक्ने वा सुरक्षा जोखिम बढ्न सक्ने आकलनका कारण केही समयका लागि नियमित सडक ड्युटी सीमित गरिएको हो। यद्यपि, यसबारे काठमाडौं महानगरपालिकाले औपचारिक धारणा सार्वजनिक गरेको छैन।

नगर प्रहरीको उपस्थिति घटेसँगै न्युरोडलगायतका क्षेत्रमा फुटपाथमा पुनः व्यापार बढ्न थालेको देखिएको छ। पैदलयात्रीका लागि छुट्याइएका स्थानमा अस्थायी पसल राखिने क्रम बढेपछि हिँड्न कठिन भएको सर्वसाधारणको गुनासो छ। फुटपाथ अवरुद्ध भएपछि धेरै पैदलयात्री सडकमै हिँड्न बाध्य भएका छन्।

यस्तै, अव्यवस्थित पार्किङको समस्या पनि फेरि बढ्न थालेको स्थानीयले बताएका छन्। सडक किनारमा जथाभावी सवारी पार्किङ गरिनुका साथै फुटपाथमा व्यापार बढ्दा सवारी आवागमनसमेत प्रभावित भएको देखिएको छ। यसका कारण न्युरोडलगायतका व्यस्त क्षेत्रमा ट्राफिक जामको समस्या पनि बढ्दै गएको स्थानीयको भनाइ छ।

काठमाडौं महानगरपालिकाले केही महिनाअघि सुरु गरेको फुटपाथ व्यवस्थापन अभियानलाई प्रभावकारी मानिएको थियो। तर पछिल्लो घटनाक्रमपछि नगर प्रहरीको सक्रियता घटेको देखिएसँगै अभियानको निरन्तरतामाथि प्रश्न उठ्न थालेको छ। सर्वसाधारणले पैदलयात्रीको अधिकार सुनिश्चित गर्न र सडक व्यवस्थापनलाई पुनः प्रभावकारी बनाउन महानगरले आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन्।

…जब फिनल्यान्डमा बेपत्ता भारतीय विद्यार्थीको शव समुद्रमा भेटियो

एजेन्सी। फिनल्यान्डको राजधानी हेलसिन्कीस्थित समुद्री क्षेत्रमा भारतको हैदराबादका १८ वर्षीय विद्यार्थी मणिदीप रेड्डी गुज्जाको शव फेला परेको छ। गत मे ५ देखि बेपत्ता रहेका उनको शव करिब दुई महिनापछि फेला परेको हो। परिवारका कानुनी प्रतिनिधि केएलबी कुमारले आइतबार शव फेला परेको पुष्टि गरेका छन्।

परिवारले घटनालाई शंकास्पद भन्दै अनुसन्धानमाथि प्रश्न उठाएको छ। दुई महिनासम्म शव फेला नपर्नु र अनुसन्धान प्रभावकारी रूपमा अघि नबढेको भन्दै उनीहरूले निष्पक्ष र पारदर्शी छानबिनको माग गरेका छन्।

फिनल्यान्डस्थित भारतीय दूतावासले जुलाई १० मा हेलसिन्कीको समुद्री क्षेत्रमा भेटिएको शव मणिदीपकै भएको पुष्टि गर्दै परिवारलाई आधिकारिक जानकारी दिएको थियो। छोराको खोजीका लागि उनका बुबा जी. मुथ्यम रेड्डी र आमा ममता रेड्डीले यसअघि तेलंगाना उच्च अदालतमा समेत निवेदन दिएका थिए।

मणिदीप फिनल्यान्डको लापेनरान्टा–लाहटी युनिभर्सिटी अफ टेक्नोलोजीको लाहटी क्याम्पसमा इन्जिनियरिङ स्नातक प्रथम वर्षमा अध्ययनरत थिए। सन् २०२५ मा उच्च शिक्षाका लागि फिनल्यान्ड पुगेका उनी लाहटी शहरमा बस्दै आएका थिए।

परिवारका अनुसार बेपत्ता हुनुअघि उनले आमालाई फोन गरेर पाँच हजार रुपैयाँ मागेका थिए। रकम पठाएको केही घण्टापछि उनी सम्पर्कविहीन भएका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मणिदीप बसमार्फत लाहटीबाट हेलसिन्की पुगेका थिए। त्यहाँ उनी एक रेस्टुरेन्टमा खाना खाएको र सपिङ मलमा घुमिरहेको दृश्य सीसीटीभीमा देखिएको थियो। अन्तिम पटक उनलाई सपिङ सेन्टर नजिक हिँडिरहेको अवस्थामा देखिएको थियो। त्यसपछि उनको मोबाइल फोन बन्द भएको र उनीसँग कुनै सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ।

घटनापछि परिवारले मणिदीप किन हेलसिन्की पुगे, उनीमाथि कुनै दबाब वा अन्य कारण थियो कि भन्ने विषयमा गहिरो अनुसन्धान गर्न माग गरेको छ। उनीहरूको भनाइमा घटनाको वास्तविक कारण अझै खुल्न बाँकी छ।

 

‘एकता सम्भव छैन, कांग्रेस फुट्यो’

काठमाडौं। नेपाली कांग्रेसभित्र लामो समयदेखि चलिरहेको आन्तरिक शक्ति संघर्ष अहिले थप गहिरिँदै गएको छ।

संस्थापन र संस्थापनइतर समूहबीच नेतृत्व, महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता, संगठन विस्तार तथा पार्टी सञ्चालन शैलीलाई लिएर देखिएको विवाद समाधानतर्फ भन्दा टकरावतर्फ उन्मुख भएको संकेत देखिन थालेको हो।

यही पृष्ठभूमिमा कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको अवस्था निकै गम्भीर बनेको टिप्पणी गरेका छन्। उनका अनुसार कांग्रेस अहिले लगभग विभाजनको संघारमा पुगेको छ।

उनले भने, ‘अब कांग्रेस एक हुने कुनै सम्भावना बाँकी रहेन। कांग्रेस ९० प्रतिशत विभाजनको रेखामा पुगिसक्यो। तर हामी कुनै हालतमा पार्टी विभाजन गरेर नयाँ दल गठन गर्ने पक्षमा छैनौँ।’

खड्काको यो अभिव्यक्तिलाई कांग्रेसभित्रको पछिल्लो शक्ति संघर्षबारे आएको अहिलेसम्मकै सबैभन्दा कडा सार्वजनिक टिप्पणीका रूपमा हेरिएको छ।

कांग्रेस नेता मीन विश्वकर्माका अनुसार खड्काले पार्टी विभाजन अन्तिम विकल्प हुन नसक्ने स्पष्ट गर्दै अन्तिम समयसम्म एकताको प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार खड्काको धारणा पार्टी फुटाउनु नभई संवादमार्फत समाधान खोज्नु हो।

तर उनले संस्थापन पक्षबाट कुनै अर्थपूर्ण संवाद वा सहमतिको पहल नदेखिएको गुनासो पनि गरेका छन्। उनका अनुसार नेतृत्व तहबाट चासो नदेखिँदा विवाद समाधान हुने सम्भावना क्रमशः कमजोर बन्दै गएको छ।

यता, कांग्रेसभित्र समानान्तर राजनीतिक गतिविधि पनि तीव्र हुन थालेका छन्। नेता डा. प्रकाशशरण महतले विराटनगर पुगेर डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन्। दुवै नेताबीच पछिल्लो राजनीतिक परिस्थिति, पार्टीभित्रको संकट र आगामी रणनीतिबारे छलफल भएको स्रोतहरूले बताएका छन्।

यसैबीच, संस्थापनइतर समूहले साउन ६ गते मनाइने बीपी स्मृति दिवसका अवसरमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। उक्त भेलाबाट आगामी राजनीतिक रणनीति, संगठन विस्तार र आवश्यक परे आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिने तयारी भइरहेको बताइएको छ।

पछिल्ला केही सातायता दुवै पक्षबीच विभिन्न प्रस्ताव आदान-प्रदान भए पनि शीर्ष नेतृत्वबाट कुनै औपचारिक प्रतिक्रिया वा सहमतिका लागि ठोस पहल नआएको कांग्रेस निकट स्रोतले बतायो। यसले पार्टीभित्रको अविश्वास झन् बढाएको  निष्कर्ष निस्किएको स्रोतले जनाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेस अहिले आफ्नो इतिहासकै संवेदनशील मोडमध्ये एकमा उभिएको छ। शीर्ष नेताहरूबीच समयमै संवाद र सहमति हुन नसके आन्तरिक विवादले संगठनमा दीर्घकालीन असर पार्न सक्ने उनीहरूको आकलन छ।

यद्यपि खड्काले पार्टी विभाजनको सम्भावना निकै बढेको संकेत गरे पनि आफूहरू नयाँ पार्टी गठन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

यद्यपि अब कांग्रेसभित्र संवाद पुनः सुरु हुन्छ कि विवाद अझै चर्किन्छ भन्ने विषय आगामी केही दिनमा स्पष्ट हुने देखिएको छ।

के सरकार दशैँ अगाडि ढल्दैछ?[भिडियाे]

झापाबाट काठमाडौं फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर घरसम्म पुर्‍याएको थियो। निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले पत्रकारहरूसँग भेट्न नदिएपछि प्रसाईंले आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

पत्रकार सम्मेलनका क्रममा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै बालेन नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने दाबी गरेका हुन्।

 

 

कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमर…

काठमाडौं। चर्चित हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा देखिएको ट्युमरको सफल शल्यक्रिया गरिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालका अनुसार वरिष्ठ न्यूरो सर्जनको नेतृत्वमा चिकित्सक टोलीले उनको मस्तिष्कको ट्युमर सफलतापूर्वक हटाएको छ। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको जनाइएको छ।

निकालिएको ट्युमर क्यान्सरयुक्त हो वा होइन भन्ने यकिन गर्न त्यसको नमुना प्रयोगशालामा बायोप्सी परीक्षणका लागि पठाइएको छ। बायोप्सीको अन्तिम प्रतिवेदन आएपछि ट्युमरको प्रकृति र आवश्यक थप उपचारबारे निर्णय गरिने अस्पताल स्रोतले जनाएको छ।

दीपाश्री निरौला नेपाली मनोरञ्जन क्षेत्रमा लामो समयदेखि सक्रिय कलाकार हुन्। हास्य अभिनयबाट लोकप्रिय बनेकी उनी पछिल्ला वर्षहरूमा सफल निर्देशकका रूपमा पनि स्थापित भएकी छन्। उनले निर्देशन गरेका चलचित्रहरूले व्यावसायिक रूपमा उल्लेखनीय सफलता हासिल गरेका छन्।

उनको स्वास्थ्य लाभको कामना गर्दै कलाकार, शुभचिन्तक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरिरहेका छन्।

अनेसासको अध्यक्षमा लालगोपाल सुवेदी निर्वाचित

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अध्यक्षमा अमेरिका निवासी लालगोपाल सुवेदी निर्वाचित भएका छन्।

जुलाई ७ देखि ९ सम्म सम्पन्न अनलाइन निर्वाचनमा उनले ९३३ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी क्यानडा निवासी सुरेन उप्रेतीले ५५४ मत प्राप्त गरे।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा अमेरिका, कोलोराडो निवासी तारा अधिकारी निर्वाचित भएकी छन्। उनले ७८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुदीपभद्र खनालले ७०० मत पाए। ८४ मतको अन्तरले अधिकारी विजयी भएकी हुन्।

अमेरिका क्षेत्रीय उपाध्यक्षमा शकुन ज्ञवाली ९०३ मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी गीता बजगाईंले ४५३ मत प्राप्त गर्दा अग्नि पराजुलीले ७२ मत पाए।

महासचिवमा राजु सिटौला १ हजार २०२ मतसहित विजयी भए। उनले यसपटक पदाधिकारीमध्ये सबैभन्दा बढी मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी सहदेव कोइरालाले २७१ मत पाए।

यसअघि नै सचिवमा नेपालका ऋषभदेव अधिकारी तथा कोषाध्यक्षमा अमेरिका निवासी पुष्पा खनाल निर्विरोध निर्वाचित भइसकेका थिए।

क्षेत्रीय उपाध्यक्षतर्फ एसियामा दिनेशराज ज्ञवाली, युरोपमा राज श्रेष्ठ र ओसेनियामा डा. प्रकाश पौडेल निर्विरोध निर्वाचित भएका छन्। अफ्रिका क्षेत्रीय उपाध्यक्ष पदमा भने उम्मेदवारी नपरेकाले पद रिक्त रहेको छ।

केन्द्रीय सदस्यका पाँच पदमा मीरा कोइराला, महेश्वर पन्त, राजेन्द्र केसी, हरिमाया अधिकारी र डा. पारसमणि दंगाल निर्वाचित भएका छन्। मीरा कोइरालाले १ हजार २०३ मत प्राप्त गर्दै सम्पूर्ण उम्मेदवारमध्ये सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गरिन्।

केन्द्रीय सदस्यमा महेश्वर पन्तले १ हजार ८९, राजेन्द्र केसीले १ हजार ७, हरिमाया अधिकारीले ९४४ र डा. पारसमणि दंगालले ९३० मत प्राप्त गरे। सदस्य पदका प्रतिस्पर्धी डा. कृष्ण शाह ‘यात्री’, नीलकण्ठ सुवेदी र पिपलमणि सिग्देल भने पराजित भए।

निर्वाचन समितिका अनुसार तीन दिनसम्म सञ्चालन भएको अनलाइन मतदानमा झण्डै १ हजार ५०० सदस्य सहभागी भएका थिए। अनेसासका विश्वभर तीन हजारभन्दा बढी आजीवन सदस्य रहेकामा कुल मतदातामध्ये ४८.४२ प्रतिशतले मतदान गरेका थिए।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल सन् २०२६ देखि २०२८ सम्म रहनेछ।

कहिले बन्छ धवल-दुर्गाको नयाँ दल ?

काठमाडौं। राप्रपा परित्याग गरेका धवल शम्शेर राणा र व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल गठनको तयारी अन्तिम चरणमा पुगेको छ।

पार्टीको विधानलाई अन्तिम रूप दिने काम तीव्र गतिमा भइरहेको तथा नाम, चुनाव चिह्न र संगठनात्मक संरचनाबारे अन्तिम छलफल चलिरहेको जनाइएको छ।

धवल शम्शेर राणाका अनुसार नयाँ दल केही समयभित्रै औपचारिक रूपमा घोषणा गरिनेछ। अहिले विधानको अन्तिम मस्यौदा तयार पार्ने, नेतृत्व संरचना टुंग्याउने तथा निर्वाचन आयोगमा दर्तासम्बन्धी प्रक्रिया मिलाउने काम भइरहेको उनले बताएका छन्।

नयाँ दल गठनसँगै पार्टीको वैचारिक दिशा, संगठन विस्तार र आगामी राजनीतिक रणनीतिसमेत सार्वजनिक गरिने तयारी छ। पार्टी घोषणाअघि नै विभिन्न विभागको जिम्मेवारी बाँडफाँट गर्ने काम पनि अघि बढाइएको स्रोतले जनाएको छ।

धवल शम्शेरसँगै राप्रपाका विभिन्न तहका करिब १८६ जना नेता तथा कार्यकर्ता नयाँ राजनीतिक अभियानमा सहभागी भएको दाबी गरिएको छ। उनीहरूमध्ये अधिकांशले संगठन निर्माण र जनपरिचालनको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहेका छन्।

राप्रपा छाडेपछि धवल शम्शेर र दुर्गा प्रसाईंले नयाँ राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गर्दै आएका थिए। त्यसयता उनीहरूले देशका विभिन्न स्थानमा राजनीतिक भेटघाट र छलफललाई तीव्र बनाएका थिए।

नयाँ दलको औपचारिक घोषणा भएपछि यसको नाम, चुनाव चिह्न, नेतृत्व संरचना र आगामी राजनीतिक एजेन्डा सार्वजनिक गरिने जनाइएको छ।

अमेरिका–इरान तनाव : हर्मुज बन्द गर्ने इरानको घोषणा

एजेन्सी। अमेरिका–इरानबीच भएको युद्धविराम तथा कूटनीतिक सहमति प्रभावहीन बन्दै गएपछि पश्चिम एसियामा तनाव पुनः चर्किएको छ।

इरानले विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने हर्मुज जलमार्ग (हर्मुज स्ट्रेट) अनिश्चितकालका लागि बन्द गरिएको घोषणा गर्दै कुनै पनि बाह्य हस्तक्षेपको कडा जवाफ दिइने चेतावनी दिएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का नौसैनिक अधिकारीहरूका अनुसार समुद्री सुरक्षामा जोखिम उत्पन्न गरेको आरोपमा एउटा जहाजलाई नियन्त्रणमा लिइएको छ। उक्त जहाजले आफ्नो स्वचालित पहिचान प्रणाली बन्द गरेर जलमार्गमा प्रवेश गरेको दाबी गरिएको भए पनि जहाजको परिचय भने सार्वजनिक गरिएको छैन।

आईआरजीसीले जारी गरेको विज्ञप्तिमा केही जहाजहरूले अनुमति नलिई हर्मुज जलमार्ग प्रयोग गर्न खोजेको र पटक–पटक चेतावनी दिँदा पनि बेवास्ता गरेपछि सुरक्षा कारबाही गरिएको उल्लेख गरिएको छ।

रोयटर्सका अनुसार आईआरजीसीले अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म र अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द रहने जनाएको छ।

विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलमार्गबाट दैनिक ठूलो परिमाणमा कच्चा तेल र प्राकृतिक ग्यास अन्तर्राष्ट्रिय बजारमा ढुवानी हुने गर्छ। यही कारण इरानको पछिल्लो घोषणाले विश्व ऊर्जा बजार, समुद्री व्यापार तथा तेलको मूल्यमा व्यापक असर पर्न सक्ने विश्लेषण गरिएको छ।

यसैबीच, केही समयअघि भएको युद्धविरामपछि पनि अमेरिका र इरानबीचको सम्बन्ध फेरि तनावपूर्ण बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता उल्लङ्घन भएको दाबी गर्दै इरानको अनुरोधमा वार्ताको प्रक्रिया भने जारी रहेको बताएका छन्।

उता, इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनीले जारी गरेको लिखित सन्देशमा आफ्ना बुबाको हत्याको प्रतिशोध जुनसुकै परिस्थितिमा पनि लिइने चेतावनी दिएका छन्। उनले युद्धको सुरुआती चरणमा इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको आक्रमणमा अली खामेनी मारिएको दाबी गर्दै त्यसको बदला अपरिहार्य रहेको उल्लेख गरेका छन्।

यद्यपि अली खामेनीको मृत्यु सम्बन्धी दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

पश्चिम एसियामा बढ्दो तनावसँगै अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न आग्रह गरिरहेको छ।

यदि हर्मुज जलमार्ग लामो समयसम्म अवरुद्ध रह्यो भने विश्वव्यापी ऊर्जा आपूर्ति, ढुवानी लागत र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा गम्भीर प्रभाव पर्न सक्ने आँकलन गरिएको छ।

गणेश नेपाली घटनामा के हुँदैछ? किन उठेन शव? [भिडियाे]

काठमाडौं । आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको शव अझै उठ्न सकेको छैन। स्रोतका अनुसार सरकार र पीडित पक्षबीच सहमति नजुटेकाले शव बुझ्ने प्रक्रिया अघि बढ्न नसकेको हो।

प्राप्त जानकारीअनुसार गणेश नेपालीको परिवार हाल जिल्ला प्रशासन कार्यालय काठमाडौंको सुरक्षा निगरानीमा रहेको छ। स्रोतले परिवारमाथि राज्य संयन्त्रबाट अनावश्यक दबाब सिर्जना गरिएको र घटनाको सम्पूर्ण जिम्मेवारी काठमाडौं महानगरपालिकामाथि मात्र रहेको बताउन दबाब दिइएको दाबी गरेको छ। यद्यपि, यसबारे सरकारी पक्षले औपचारिक प्रतिक्रिया दिएको छैन।

स्रोतका अनुसार परिवारलाई भेट्न पुगेका केही व्यक्तिलाई पनि सहज रूपमा भेट्न दिइएको छैन।

स्रोतले भन्यो, ‘गणेशको परिवारलाई कडा सुरक्षा घेरामा राखिएको छ। उनीहरूमाथि राज्य संयन्त्रबाट अनावश्यक दबाब सिर्जना गरिएको छ।’

यस विषयमा सरकार र पीडित पक्षबीच शनिबार साँझदेखि सुरु भएको वार्ता रातभर चलेको थियो। वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहाल, सचिवालय सदस्य सञ्जीव पाण्डे, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलगायत सहभागी थिए।

पीडित पक्षका अनुसार वार्ताका क्रममा सरकारले मृतकका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने प्रस्ताव गरेको थियो। साथै मृतककी पत्नीलाई रोजगारी उपलब्ध गराउने र छोराछोरीको निःशुल्क शिक्षाको व्यवस्था गर्ने विषयमा पनि सरकार सकारात्मक देखिएको बताइएको छ। तर संसदीय छानबिनको सट्टा प्रशासनिक छानबिन गर्ने सरकारी प्रस्तावमा भने सहमति हुन सकेन।

पीडित पक्षले नगर प्रहरी र ट्राफिक प्रहरीलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दा चलाउनुपर्ने, गणेश नेपालीलाई नेपालको पहिलो डिजिटल राइडर श्रमिक शहीद घोषणा गर्नुपर्ने तथा घटनास्थललाई ‘शहीद गणेश नेपाली चोक’ नामकरण गर्नुपर्ने माग पनि अघि सारेको छ। यी विषयमा भने कुनै सहमति हुन नसकेको स्रोतले जनाएको छ।

वार्ताका क्रममा दुवै पक्षबीच चर्काचर्कीसमेत भएको दाबी छ। पीडित पक्षले काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गर्ने वा नगर्ने भन्ने अन्योल रहेकाले नेपाल सरकारले औपचारिक रूपमा जिम्मेवारी नलिएसम्म कुनै सहमति नहुने अडान राखेको छ।

वार्ता समितिमा सहभागी पठाओ राइडर प्रतिनिधि नवराज न्यौपानेले वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीबाट दबाब र धम्कीपूर्ण व्यवहार भएको आरोप लगाएका छन्। यी आरोपबारे सम्बन्धित सरकारी अधिकारीहरूको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।

 

वर्षौंसम्म किन चम्किरहन्छ सुन ?

काठमाडौं। सुनलाई संसारकै सबैभन्दा मूल्यवान् धातुमध्ये एक मानिन्छ। यसको आकर्षक चमक, टिकाउपन र सजिलै नबिग्रिने गुणका कारण हजारौं वर्षदेखि गहना, मुद्रा र विभिन्न औद्योगिक प्रयोजनमा यसको प्रयोग हुँदै आएको छ। तर सुन किन सजिलै धमिलो हुँदैन भन्ने प्रश्नको नयाँ वैज्ञानिक उत्तर अहिले भेटिएको छ।

अमेरिकाको टुलन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको नयाँ अध्ययनले सुनको दीर्घकालीन चमकको रहस्य यसको रासायनिक गुण मात्र नभई परमाणुस्तरमा हुने विशेष संरचनासँग सम्बन्धित रहेको देखाएको छ। यो अध्ययन प्रतिष्ठित वैज्ञानिक जर्नल ‘फिजिकल रिभ्यु लेटर्स’ मा प्रकाशित भएको हो।

अनुसन्धानअनुसार सुनको सतहमा रहेका परमाणुहरू प्राकृतिक रूपमा आफूलाई यस्तो संरचनामा पुनर्गठित गर्छन्, जसले अक्सिजनसँग प्रतिक्रिया हुन दिँदैन। यही कारणले सुनमा अन्य धातुमा जस्तै सजिलै खिया लाग्दैन वा सतह धमिलो हुँदैन।

वैज्ञानिकहरूले कम्प्युटर सिमुलेसनमार्फत सुनका परमाणु र इलेक्ट्रोनहरूको व्यवहारको विस्तृत अध्ययन गरेका थिए। अध्ययनका क्रममा सुनको सतहमा बन्ने यो प्राकृतिक संरचनाले अक्सिजनसँग हुने प्रतिक्रिया एक अर्बदेखि एक खर्ब गुणासम्म घटाइदिने तथ्य फेला परेको छ। यसले सुनको सतहमाथि परमाणुस्तरमै अदृश्य सुरक्षात्मक तह तयार गर्छ, जसले वर्षौंसम्म यसको चमक जोगाइराख्छ।

अनुसन्धान टोलीका अनुसार यही विशेषताका कारण सुनका गहना, सिक्का तथा ऐतिहासिक वस्तुहरू शताब्दीयौंसम्म पनि आफ्नो मौलिक चमक कायम राख्न सक्षम हुन्छन्।

यो खोज केवल गहनासम्म सीमित छैन। वैज्ञानिकहरूका अनुसार यसले उद्योग र स्वच्छ ऊर्जा प्रविधिमा प्रयोग हुने सुनमा आधारित क्याटालिस्ट विकासमा पनि नयाँ सम्भावना खोल्नेछ। यदि सुनको सतहलाई नियन्त्रित रूपमा परिमार्जन गरेर अक्सिजनसँगको प्रतिक्रिया बढाउन सकियो भने रासायनिक उद्योगमा यसलाई अझ प्रभावकारी क्याटालिस्टका रूपमा प्रयोग गर्न सकिने विश्वास गरिएको छ।

अनुसन्धानले सुनको सतहको परमाणु संरचना र ज्यामितिलाई नियन्त्रण गरेर यसको कार्यक्षमता थप सुधार गर्न सकिने संकेत पनि दिएको छ। यसले भविष्यमा ऊर्जा, वातावरणीय प्रविधि र उच्चस्तरीय औद्योगिक उत्पादनमा नयाँ अनुसन्धान र आविष्कारका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ।

वैज्ञानिकहरूका अनुसार यो अध्ययनले सुन केवल बहुमूल्य धातु मात्र नभई आधुनिक विज्ञान र प्रविधिका लागि पनि अत्यन्त उपयोगी सामग्री भएको पुष्टि गरेको छ।

माइतीघरमा सुकुम्बासीको विरोध चर्को, खरिपाटीमा मन्त्रीहरुको लर्को

काठमाडौं। सुकुम्बासीमाथि सरकारले दमन गरेको आरोप लगाउँदै विभिन्न सुकुम्बासी अधिकारकर्मी तथा अभियन्ताहरूले आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले सरकारले सुरक्षित व्यवस्थापनको नाममा सुकुम्बासीलाई झन् असुरक्षित बनाएको आरोप लगाउँदै तत्काल दीर्घकालीन समाधानको माग गरेका छन्।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीमाथि प्रहरीले नियन्त्रण र दमन गरेको भन्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालसहित विभिन्न संघ–संगठनले प्रदर्शन आयोजना गरेका हुन्। उनीहरूले सुरक्षित आवासको सुनिश्चितता, गैरन्यायिक पक्राउ रोक्न र नागरिकको आवाजमाथि हुने दमन अन्त्य गर्न माग गर्दै नाराबाजी गरेका थिए।

प्रदर्शनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले सुकुम्बासीको समस्या समाधान गर्नुपर्ने राज्यले उल्टै दमनको बाटो रोजेको आरोप लगाए। उनले कीर्तिपुरस्थित होल्डिङ सेन्टर बाढीको जोखिममा रहेको र त्यहाँको व्यवस्थापन अत्यन्त कमजोर भएको दाबी गरे।

उनले सरकारले सुरक्षित व्यवस्थापन गर्ने प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउँदै उचित व्यवस्था नगरे देशभरका सुकुम्बासी आन्दोलनमा उत्रिने चेतावनी दिए। ‘यदि सरकारले सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्न सक्दैन भने हामी आफ्नै थातथलोमा फर्किन्छौँ र देशव्यापी आन्दोलन सुरु गर्छौँ,’ उनले भने।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘सुकुम्बासीमाथिको अन्याय अन्त्य गर’, ‘जनताको आवाज दबाउन पाइँदैन’ र ‘गरिबमाथिको दमन बन्द गर’ लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

यता, सुकुम्बासीको अवस्था बुझ्न सरकारका पाँच मन्त्री आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टर पुगेका छन्। कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका परिवारलाई अस्थायी रूपमा खरिपाटी सारिएको थियो।

गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता, श्रममन्त्री रामजी यादवलगायत मन्त्रीहरूले होल्डिङ सेन्टरको निरीक्षण गर्दै सुकुम्बासी परिवारसँग प्रत्यक्ष संवाद गरेका हुन्।

उनीहरूले आवास, स्वास्थ्य, खाद्यान्न तथा अन्य आधारभूत सुविधाबारे जानकारी लिँदै सम्बन्धित निकायका अधिकारीहरूसँग आवश्यक व्यवस्थापनका विषयमा छलफल गरेको जनाइएको छ।

सरकारले सुकुम्बासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको बताइरहे पनि विपक्षी दल, अधिकारकर्मी र सुकुम्बासी संगठनहरूले भने अस्थायी होल्डिङ सेन्टरमा पर्याप्त आधारभूत सुविधा नरहेको, दीर्घकालीन समाधानको स्पष्ट योजना नदेखिएको र एक स्थानबाट अर्को स्थानमा सार्दै समस्या टार्ने प्रयास मात्र भएको आरोप लगाइरहेका छन्।

एकातर्फ सुकुम्बासीहरू सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् भने अर्कोतर्फ सरकारले मन्त्रीहरूलाई स्थलगत निरीक्षणमा खटाएर व्यवस्थापन सुधारको प्रयास गरिरहेको जनाएको छ।

यद्यपि सुकुम्बासीको दीर्घकालीन पुनःस्थापना, सुरक्षित आवास र जीविकोपार्जनको सुनिश्चितताबारे ठोस निर्णय कहिले हुन्छ भन्ने विषय अझै अनिश्चित नै रहेको छ।

साझा यातायातका हरिया बस ‘ब्लु बस’ नबन्ने [भिडीयाे]

काठमाडौं । साझा यातायातका हरिया बस ब्लु बस नबन्ने भएका छन्। सरकारले महिलाको सुरक्षित यात्राका लागि भन्दै साझा यातायातका हरिया बसलाई साउन १ गतेदेखि ‘ब्लु बस’ बनाएर सेवा सञ्चालन गर्ने घोषणा गरेको थियो। तर यसको चौतर्फी रुपमा आलोचना भएपछी सरकारले साझाका हरिया बसलाई ब्लु बस नबनाउने भएको हो। 

सुरुमा साझा यातायातका हरिया बसलाई निलो रङमा परिवर्तन गरेर ‘ब्लु बस’ बनाइने चर्चा चलेको थियो। तर सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि साझा यातायातले बसको मौलिक हरियो रङ परिवर्तन नगर्ने निर्णयमा सरकार पुगेको बताइएको छ। 

सरकारले पहिलो चरणमा आठ वटा विद्युतीय बस महिलाका लागि निःशुल्क सञ्चालन गर्ने योजना बनाएको थियो। यद्यपि सञ्चालन मिति र बसको अन्तिम सङ्ख्या पनि तय हुन सकेको थिएन। सरकारले यो सेवा शासकीय सुधारको १०० दिने कार्यसूची र नयाँ आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको भए पनि तयारी अपुग हुँदा कार्यान्वयनमा ढिलाइ भएको थियो।

काजलको आरोप, दीपकको खण्डन, चर्कियो ‘चिरञ्जीवी भवः’ विवाद

काठमाडौं । नेपाली फिल्म ‘चिरञ्जीवी भवः’ को छायांकन सेटमा अभिनेत्री काजल कर्णले आफूमाथि विभेदपूर्ण व्यवहार भएको आरोप लगाएपछि सुरु भएको विवाद झन् गहिरिएको छ।

काजलले आफूलाई मधेशी भएकै कारण अपमान, मानसिक दबाब र भूमिकाबाट हटाइएको आरोप लगाएपछि निर्देशक दीपक आचार्यले विस्तृत स्पष्टीकरण सार्वजनिक गर्दै सबै आरोप अस्वीकार गरेका हुन्।

निर्देशक आचार्यले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको ६ बुँदे स्पष्टीकरणमा फिल्म निर्माण टोलीका लागि कुनै जातीय वा क्षेत्रीय समुदाय नभई ‘मानव समुदाय’ मात्रै रहेको उल्लेख गरेका छन्। उनले सम्पूर्ण कलाकारलाई समान सम्मान गरिने र कुनै पनि प्रकारको विभेद स्वीकार्य नहुने दाबी गरेका छन्।

आचार्यका अनुसार काजलले आरोप लगाएजस्तो छायांकन सेटमा कुनै प्राविधिकबाट तुच्छ व्यवहार भएको जानकारी आफूलाई कहिल्यै नदिइएको बताए। यदि कसैले त्यस्तो व्यवहार गरेको पुष्टि भए तत्काल कारबाही गरिने उनको भनाइ छ।

निर्देशकले छायांकन प्रभावित हुन नदिन निर्माण टोलीले अर्को कलाकारबाट भूमिका सम्पन्न गराएको स्पष्ट पारेका छन्। उनका अनुसार बिहान ७:३० बजेका लागि बोलाइएको छायांकनमा काजल निर्धारित समयमा उपस्थित नभएको र सहायक निर्देशकमार्फत अन्तिम समयमा आफू नआउने जानकारी पठाएपछि सुटिङ रोक्न नसकिने अवस्था आएको थियो।

पारिश्रमिकको विषयमा पनि उनले निर्माण पक्षसँग छलफल गर्दा डबिङ सम्पन्न भएपछि दिने सहमतिअनुसार अन्तिम किस्ता मात्रै बाँकी रहेको जानकारी प्राप्त भएको बताएका छन्।

मधेशी भएकै कारण विभेद गरिएको आरोपबारे निर्देशकले आफूलाई काजल मधेशी समुदायबाट आएको भन्ने कुरा सामाजिक सञ्जालमा उनको स्टाटस पढेपछि मात्र थाहा भएको दाबी गरेका छन्। कलाकार छनोट जातीय वा क्षेत्रीय पहिचानका आधारमा नभई पात्रको आवश्यकता अनुसार गरिएको उनको भनाइ छ।

स्क्रिप्टभन्दा बाहिरका दृश्य गर्न बाध्य पारिएको आरोपबारे पनि उनले असहमति जनाएका छन्। कलाकारले चरित्रअनुसार विभिन्न भूमिका निर्वाह गर्नुपर्ने भन्दै काजललाई केवल गोबर सोहोर्ने दृश्य मात्रै गराइएको भन्ने दाबी सत्य नभएको र उनीद्वारा निर्वाह गरिएका विभिन्न दृश्यका भिडियो फुटेज सुरक्षित रहेको निर्देशकले उल्लेख गरेका छन्।

आचार्यले यो विवाद केही गलत बुझाइका कारण पनि उत्पन्न भएको हुन सक्ने उल्लेख गर्दै आवश्यक परे काजलसँग छलफल गर्न निर्माण टोली तयार रहेको बताएका छन्। साथै, सबै पक्षलाई मिलेर राम्रो नेपाली चलचित्र निर्माणमा सहयोग गर्न आग्रह गरेका छन्।

यता, काजल कर्ण भने आफ्नो आरोपमा अडिग रहेकी छन्। उनले दोस्रो पटक सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै निर्देशकको स्पष्टीकरणले वास्तविक घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाएकी छन्। सेटमा आफूले भोगेको व्यवहार, पारिश्रमिक विवाद र भूमिकाबाट हटाइएको घटनाबारे उठाएका सबै विषय सत्य रहेको उनको दाबी छ।

यस विवादले नेपाली फिल्म उद्योगमा कलाकारको श्रम अधिकार, कार्यस्थलको व्यवहार, पारिश्रमिकको पारदर्शिता तथा जातीय वा क्षेत्रीय पहिचानका आधारमा हुने सम्भावित विभेदबारे नयाँ बहस सुरु गरेको छ।

हालसम्म दुवै पक्षले आफ्ना–आफ्ना दाबी सार्वजनिक गरेका छन् भने आरोप–प्रत्यारोपको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।

यस्तो छ कर्णको दाबी

मधेशी भएकै कारण मैले नेपाली फिल्मको सेटमा जे भोगेँ…

सानैदेखि एउटा सपना थियो– ऐनाअगाडि उभिएर अभिनय गर्ने, ठूला पर्दामा देखिने र एउटा कुशल कलाकार बन्ने। मधेशको एउटा सानो आँगनबाट सुरु भएको त्यो रंगीन सपनालाई पछ्याउँदै मैले ३५० भन्दा बढी थारु, भोजपुरी, मैथिली र नेपाली गीतहरूमा काम गरेँ। आमा–बुवाको विश्वास र मेरो मेहनतले मलाई नेपाली फिल्म ‘चिरञ्जीवी भवः’ सम्म पुर्‍यायो। ‘परान’जस्तो सुपरहिट फिल्मका निर्देशकसँग काम गर्न पाउँदा खुसी नहुने कुरै थिएन।

तर, फिल्मको सेटभित्र छिरेपछि मैले जुन संसार देखेँ, त्यसले मेरो कलाकारिताप्रतिको सम्मान मात्र होइन, मेरो आत्मसम्मान र मधेशी पहिचानमाथि यति क्रूर प्रहार गर्‍यो कि आज म ती घाउहरू खोल्न बाध्य भएकी छु।

अहिले लाग्छ, मधेश र नेपाली फिल्म क्षेत्रबीचको दूरी पृथ्वी र चन्द्रमा जस्तै रहेछ– टाढाबाट हेर्दा चम्किलो, तर पुग्न खोज्दा सासै रोकिने शून्यता र विभेद।

फिल्ममा अनुबन्धित हुँदा म धेरै खुसी थिएँ। हरिवंश आचार्य, करिश्मा मानन्धरजस्ता हस्तीहरूसँग काम गर्ने अवसर थियो। तर, सुरुवातमै मलाई अपमानित गर्न थालियो। डिजाइनर दाइले मेरो नाप लिएर पनि काठमाडौँको सुटका लागि आफ्नै लुगा व्यवस्था गर्न भन्नुभयो। सुटिङको दिन बिहानै साढे ५ बजे गाडी पठाउँछु भन्ने प्रोडक्सनका सुवास काफ्लेजीले फोन उठाउनुभएन। अन्त्यमा ६ बजे फोन उठ्दा भन्नुभयो– ‘गाडी आउँदैन, आफैँ पठाओ गरेर आउनुस्, हामी भाडा तिरिदिन्छौँ।’ एउटा कलाकारलाई सेटसम्म पुग्न पनि कति सास्ती!

इटहरीमा सुटिङ भइरहेका बेला म लोकेसनमा पुगेँ। मेकअप रुममा प्रवेश गर्दा मुख्य अभिनेत्री प्रशंसा रायमाझीको मेकअप भइरहेको थियो। त्यहाँ चीफ एडी नेत्र सरले मलाई ‘लुगा खोइ?’ भन्दै थर्काउनुभयो। मैले डिजाइनरको कुरा राख्दा उल्टै ममाथि झर्कनुभयो। त्यतिमै नपुगेर प्रशंसा जीले भन्नुभयो– ‘मैले यो कोठामा मेरो मात्र मेकअप होस् भनेर अनुमति दिएको हो, अरूलाई ल्याएर मेरो रुमको माहोल नबिगारिदिनुस्।’ सेटमा म एउटा कलाकार होइन, कुनै अवाञ्छित वस्तु झैँ भएँ।

सबैभन्दा पीडादायी क्षण त मेकअप गर्दा भयो। मेकअप आर्टिस्टले मेरो अनुहारमा जानीजानी कालो मेकअप दलिदिइन्। मैले सोध्दा उनले भनिन्, ‘तिमी त यहाँ आश्रममा काम गर्ने मान्छे, गाई–गोठालो हेर्ने मान्छे, तिम्रो मेकअप यस्तै हुन्छ।’

मेरो स्क्रिप्टमा त्यस्तो केही थिएन। अर्का एकजना पुरुष मेकअप आर्टिस्टले त झन् पराकाष्ठा नै नाघेर भने– ‘तिमी त तराईको मान्छे, तिमीलाई त भैँसी र गाईलाई कसरी बोलाउँछन् भन्ने थाहा होला नि!’ यति भन्दै उनीहरू ममाथि हाँसे, मेरो माटोको उपहास गरे। ‘यो मधेशी’ भन्दै सेटभरि मेरो मजाक उडाइयो। ‘तिमी त मधेसी हौ, मधेसीको रङ यस्तै त हुन्छ नि’, ‘ओई मधेसेनी, तिम्रोतिर त भैँसी र गाईलाई कसरी बोलाउँछन्, थाहा होला नि? ल, बोलाएर देखाऊ त!’, यस्तै यस्तै भनेर उनीहरू ममाथि खित्का छोडेर हाँसे।

स्क्रिप्टमा कहीँ नभएको कुरा सुटिङमा जबर्जस्ती गराइयो। मलाई र अर्को एकजनालाई फोहोर उठाउने र कुचो लगाउने सिनहरू गराइयो। दुई दिनसम्म मलाई एउटा कलाकारको रूपमा होइन, मजदुरको रूपमा मात्र प्रयोग गरियो। पेमेन्टको कुरा गर्दा प्रोडक्सनका सुवासले वास्तै गर्नुभएन।

जब सुटिङ इटहरी पुग्यो, मैले आफ्नो बाँकी पेमेन्ट र लुगा खर्च मागेँ। एक्जेक्युटिभ प्रोड्युसर शैलेश खत्रीले मलाई ‘पेमेन्ट हालिसकेँ, सेटमा आउनुस्’ भनेर झूट बोल्नुभयो। म इटहरी पुग्दा त मेरो ठाउँमा अर्कै कलाकारलाई मेकअप गराइँदै थियो। मलाई कुनै जानकारी नै नदिई निर्देशक दीपकप्रसाद आचार्यको आदेशमा ठाउँको ठाउँ मलाई फिल्मबाट हटाइयो। कारण सोध्दा हेयर स्टाइलिस्ट सञ्चिता ढकालले भनिन्, ‘तिमी नहुने भयौ, तिम्रा लुगाहरू छुटेको भएर मात्र बोलाएको हो।’

मेरो पेमेन्ट क्लियर गर्न आग्रह गर्दा शैलेश जीले ‘अझै डबिङ बाँकी छ, अहिले फुल पेमेन्ट दिन्नँ’ भन्नुभयो। इटहरी बोलाएर, अर्कै कलाकार राखेर, मलाई ‘लुगा लिन मात्र बोलाएको’ भन्नु कति ठूलो अपमान हो?

यो केवल मेरो एउटा भूमिका खोसिएको कथा होइन। यो त नेपाली फिल्म उद्योगभित्र मधेशी कलाकारले भोग्नुपर्ने संकीर्ण सोच र विभेदको नाङ्गो रूप हो। मधेशका छोरीहरूले घरको कुरा र समाजको रुढीवादी सोच जितेर यहाँसम्म आउन कति संघर्ष गर्नुपर्छ, त्यो सेटमा बस्ने ती ‘अहंकारी’हरूले कहिल्यै बुझेनन्। उनीहरूले त केवल मेरो पहिचानमाथि प्रहार गर्न र मलाई मानसिक तनाव दिन मात्र जाने।

म यो पत्रमार्फत प्रश्न गर्न चाहन्छु– के मधेशी हुनु नै हाम्रो गल्ती हो? के हामीले आफ्नो श्रमको मूल्य माग्नु अपराध हो? ‘चिरञ्जीवी भवः’ को सेटमा मैले पाएको यो दुर्व्यवहारले फिल्म क्षेत्रको कुरूप अनुहार छर्लङ्ग पारेको छ। तर स्मरण रहोस्, एउटा भूमिका खोस्दैमा मेरो सपना मर्ने छैन। मधेशको माटोले मलाई लड्न सिकाएको छ, हार्न होइन। म लड्नेछु, आफ्ना लागि र मजस्ता थुप्रै सपना देख्ने मधेशी छोरीहरूका लागि।

उही,
तपाईंकी
काजल कर्ण

निर्देशक आचार्यको खण्डन

हाम्रो लागि कुनै क्षेत्रीय वा जातीय समुदाय छैन, एउटै समुदाय छ ‘मानव समुदाय’।

सामाजिक सञ्जालमा ‘चिरञ्जीवी भव’को सुटिङ सेटमा आएको एउटा गम्भीर विषयप्रति मेरो ध्यानाकर्षण भएको छ। काजोल कर्णजीको स्टाटस पढेपछि मैले आरोपित सम्पूर्ण प्राविधिक अनि टिमसँग छलफल गरेपश्चात् हामी केही कुरा क्लियर गर्दैछौँ।

१- उहाँले मेरो निर्देशनमा रहेको सेटमा केही प्राविधिकहरूबाट अत्यन्तै तुच्छ व्यवहार भयो भन्ने आरोपमा कुनै सत्यता छैन, र मलाई उहाँले कुनै जानकारी गराउनु भएको छैन। यदि कुनै सदस्यबाट उहाँले आरोप लगाएजस्तो व्यवहार गरेको पुष्टि भएमा गल्ती गर्ने जो कोहीलाई पनि १ सेकेन्ड अबिलम्ब नगरी कारबाही गरिनेछ।

२- कलिङ टाइम ७:३० को राखिएको सुटिङ सेटमा ९:०० बजेसम्म कलाकारलाई कुरेर बसेका ७० जना सुटिङ युनिटलाई अन्तमा सहायक निर्देशकमार्फत म आउँदिन भन्ने सन्देश पठाउनु भएछ। मैले टिम क्याप्टेनको हिसाबले एउटा कलाकारले अनुशासन भंग गरी यति ठूलो युनिट होल्ड हुन नदिई सुटिङ सुचारु गरेको हुँ र कलाकारको पारिश्रमिक सम्बन्धमा निर्माण टिमसँग छलफल गर्दा तेस्रो किस्ता मात्र दिन बाँकी, जुन डबिङपछि दिइने जानकारी पाएको छु।

३- सम्बन्धित कलाकार कुनै समुदाय विशेषको भएको कारण हामीले छनोट गरेका होइनौँ, जुन कुरा पछि चलचित्र प्रदर्शनपश्चात् झन् सबैले बुझ्नु हुनेछ। उहाँ मधेसी मूलको हुनुहुँदो रहेछ भन्ने कुरा मैले त उहाँको स्टाटस पढेपछि मात्र थाहा भयो। हाम्रो लागि कुनै जातीय वा क्षेत्रीय कलाकार हुँदैनन्, हरेक चरित्र हाम्रो लागि समान हुन् र हामी बराबर सम्मान गर्छौँ।

४- कलाकार भएपछि जस्तोसुकै भूमिका निर्वाह गर्नुपर्छ, जसमा कहिले डोको बोक्न पर्ला, कहिले गाईको सेवा गर्न पर्ला। हरेक पेसाप्रति हाम्रो उच्च सम्मान छ। अझ चरित्रमा प्राण भर्न कलाकारले जीवन्त अभिनय गर्नु एउटा कलाकारको कर्तव्य हो।

५- काजोलजीले अत्यन्तै सुन्दर भूमिका निर्वाह गर्नुभएको छ। उहाँले आरोप लगाउनु भएजस्तो गाईको गोबर सोहोर्ने काम मात्र दिइयो भन्ने कुरा सत्य होइन। हामीसँग उहाँले गर्नुभएका हरेक भूमिकाका भिडियो फुटेज सुरक्षित छन्।

६- उहाँलाई कतिपय कुराहरू मिसअन्डरस्टान्डिङ भएको हुन सक्छ। यदि त्यस्तो भए हामी उहाँसँग छलफल गर्ने वातावरण तयार गर्नेछौँ।

हाम्रो लागि संसारमा एउटै समुदाय हुन्छ, मानव समुदाय। हरेक मानवलाई हामी समान व्यवहार गर्छौँ। हामी अत्यन्तै मेहनत गरेर नेपाली चलचित्र उद्योगको लागि एउटा सुन्दर सिर्जना निर्माणमा व्यस्त छौँ। आउनुहोस्, हामी सबै मिलेर एउटा राम्रो सिनेमा निर्माणमा सहयोग गरौँ। काजोलजीको कलाकारिताको लागि सफलताको शुभकामना।

चिरञ्जीवी भव।

यो पनि पढ्नुहोस्: 

मधेशी भएकै कारण मैले नेपाली फिल्मको सेटमा जे भोगेँ…

किर्तिपुर होल्डिङ सेन्टरका ३१ परिवारका ८९ जना खरीपाटीमा

काठमाडौं । अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट सुकुमवासी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढीका कारण होल्डिङ सेन्टर नै प्रभावित भएपछि सरकारले उनीहरूलाई भक्तपुरस्थित खरिपाटी होल्डिङ सेन्टरमा सार्ने व्यवस्था गरेको हो।

सरकारी विवरणअनुसार कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ जनालाई शनिबार र आइतबार बिहान गरी चरणबद्ध रूपमा खरिपाटी लगिएको छ। प्रभावित परिवारलाई सुरक्षित स्थानमा राख्ने उद्देश्यले स्थानान्तरण गरिएको जनाइएको छ।

खरिपाटीमा स्थान अभाव भएका केही परिवारलाई भने भक्तपुरकै बोडे क्षेत्रमा अस्थायी रूपमा व्यवस्थापन गरिएको छ। सम्बन्धित निकायले उनीहरूको बसोबास, खाद्यान्न तथा आधारभूत आवश्यकताका विषयमा आवश्यक व्यवस्थापन भइरहेको जनाएको छ।

यसअघि सरकारले बागमती नदी किनारका थापाथलीलगायत विभिन्न क्षेत्रमा रहेका सुकुमवासी बस्ती हटाएर उनीहरूलाई अस्थायी रूपमा कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा राखेको थियो। तर लगातारको वर्षापछि उक्त होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ बस्दै आएका परिवार थप जोखिममा परेका थिए।

होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुमवासीहरूको व्यवस्थापनलाई लिएर सरकारको आलोचना समेत भइरहेको छ। विभिन्न राजनीतिक दल, अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूले सुरक्षित र दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएका छन्।

हाल प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिए पनि उनीहरूको स्थायी पुनर्स्थापना र दीर्घकालीन व्यवस्थापनको विषय भने अझै टुंगो लाग्न सकेको छैन। सरकारले अस्थायी व्यवस्थापनसँगै दीर्घकालीन समाधानका लागि आवश्यक तयारी भइरहेको जनाएको छ।