`

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।

प्रधानमन्त्री बालेन शाहले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठकमा समसामयिक विषय तथा सरकारका नियमित प्रशासनिक कामकारबाहीबारे छलफल हुने बताइएको छ।

भोटेकोशी बाढीमा बेलायतका राजा चार्ल्सद्वारा दु:ख व्यक्त

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

राजा चार्ल्सले बिहीबार जारी गरेको सन्देशमा विपद्का कारण ज्यान गुमाएका तथा आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । नेपालसँग बेलायतका धेरै नागरिकको लामो समयदेखि गहिरो र व्यक्तिगत सम्बन्ध रहेको उल्लेख गर्दै उनले विपद्बाट प्रभावित सबैप्रति सहानुभूति प्रकट गरेका हुन् ।

उनले बाढीपहिरोपछि आफन्त तथा साथीभाइको अवस्थाबारे चिन्तित हुँदै खबरको प्रतीक्षा गरिरहेका परिवारप्रति समेत दुःख व्यक्त गरेका छन् । विपद्का कारण प्रभावित भएका सबैप्रति आफ्नो साथ र सहानुभूति रहेको राजा चार्ल्सको सन्देशमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन सहयोग घोषणा

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले बाढीपहिरो प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पेन्सन रकम सहयोग गरेकी छन् ।

कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी आफ्नो मासिक पेन्सनबापत प्राप्त ७७ हजार रुपैयाँ सहयोग गरेकी हुन् । उनले उक्त रकम राष्ट्रिय वाणिज्य बैंकको खातामार्फत कोषमा जम्मा हुने गरी प्रदान गरेको जानकारी दिएकी छन् ।

बाढीपहिरोबाट ठूलो जनधनको क्षति भइरहेको अवस्थामा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो एक महिनाको पेन्सन रकम प्रदान गरेको कार्कीले बताएकी छन् ।

१३ हजार सुरक्षाकर्मी मैदानमा, ६९ हवाई उडानबाट ५७३ जनाको उद्धार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बाढीपहिरो प्रभावित नुवाकोटसहितका क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्धार, राहत र पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको बताएका छन् । प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका टोलीसँग प्रत्यक्ष जानकारी लिएपछि काठमाडौं फर्किएका प्रधानमन्त्री शाहले अहिले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार र घाइतेको उपचार रहेको बताएका हुन् ।

प्रधानमन्त्रीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भएका छन् । जसमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना छन् । उद्धार तथा राहत कार्यको निरन्तर समन्वय र अनुगमनका लागि नेपाली सेनाको संयुक्त सञ्चालन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको शीघ्र कार्य टोली तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको द्रुत कार्य टोली सक्रिय रहेको उनले जानकारी दिएका छन् ।

एकैदिन ६९ हवाई उडान, ५७३ जनाको उद्धार

बाढीपहिरोका कारण दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा फसेका नागरिकको उद्धार हवाई तथा स्थलमार्गबाट निरन्तर भइरहेको छ । प्रधानमन्त्री शाहका अनुसार बुधबार मात्रै ६९ वटा हवाई उडान सञ्चालन गरी ५७३ जनाको उद्धार गरिएको छ ।

थप हेलिकप्टर तयारी अवस्थामा राखिएको र निजी क्षेत्रका हेलिकप्टरलाई समेत सरकारी समन्वय तथा निर्देशन प्रणालीअन्तर्गत उद्धार र राहतमा परिचालन गरिएको छ । हवाई उद्धारका क्रममा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ ।

रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सार्ने काम पनि जारी छ । तत्कालका लागि करिब ३ हजार ५०० जनालाई राख्न विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको सरकारले जनाएको छ ।

तीन जिल्लामा डेढ करोड राहत रकम परिचालन

बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ । प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायतका राहत सामग्रीसहित १० ट्रक पठाइएको छ ।

खाद्य तथा गैरखाद्य सामग्री थप रूपमा हेलिकप्टरबाट समेत प्रभावित क्षेत्रमा पुर्‍याउने काम भइरहेको छ । अस्थायी राहत शिविर सञ्चालन गरी प्रभावित नागरिकका लागि खाना, खानेपानी तथा आधारभूत सेवाको व्यवस्था गरिएको छ ।

नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थासमेत उद्धार तथा राहत कार्यमा परिचालित भएका छन् । रेडक्रसबाट मात्रै करिब ३० हजार जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको प्रधानमन्त्री शाहले बताएका छन् ।

अस्पताललाई तयारी अवस्थामा राखियो

बाढीपहिरोका कारण घाइते तथा बिरामीको संख्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय पारिएको छ । वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ ।

वीर अस्पताल र ट्रमा सेन्टरमा १००–१०० तथा पाटन अस्पतालमा ६० वटा आपत्कालीन शय्या तयारी अवस्थामा राखिएको छ । आवश्यकताअनुसार मेडिकल टोली, औषधि, एम्बुलेन्स र रक्तसञ्चार सेवा प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

सरकारले बाढीपहिरोबाट प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गरेको जनाएको छ । ट्रमा सेन्टर, वीर अस्पताल र शिक्षण अस्पतालबाट आवश्यक औषधि तथा उपकरणसहित मेडिकल टोली परिचालन गरिएको छ भने धुलिखेल अस्पताललगायत अन्य स्वास्थ्य संस्थालाई समेत तयारी अवस्थामा राखिएको छ ।

राहत सामग्रीका लागि तीन स्थानमा भण्डारण केन्द्र

प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्रीको आपूर्ति व्यवस्थित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदाम, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेक तथा धादिङको बैरेनीस्थित नेपाली सेनाको ब्यारेकलाई मुख्य भण्डारण तथा वितरण केन्द्रका रूपमा प्रयोग गरिएको छ ।

यी केन्द्रमा संकलित राहत सामग्रीलाई प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा हवाई तथा स्थलमार्गबाट पठाउने व्यवस्था मिलाइएको छ । जेनेरेटर, पोर्टेबल मोबाइल टावर, ब्याट्री, स्वास्थ्य सामग्री, टेन्ट तथा फलाम र ढुंगा काट्ने उपकरणसमेत प्रभावित क्षेत्रमा पठाइँदैछ ।

विपद् व्यवस्थापनका लागि प्रयोग हुने फिल्ड अस्पताल सेटसमेत त्रिशूलीतर्फ पठाइएको प्रधानमन्त्री शाहले बताएका छन् ।

७० भन्दा बढी दूरसञ्चार साइट बन्द

बाढीपहिरोका कारण प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पनि नराम्ररी प्रभावित भएको छ । हालसम्म नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावर तथा साइट बन्द भएका छन् ।

दूरसञ्चार सेवा तत्काल पुनःस्थापित गर्न प्राविधिक टोलीसँगै जेनेरेटर र ब्याट्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्‍याइएको छ । प्रभावित नागरिकलाई तत्काल सञ्चार सुविधा उपलब्ध गराउन नेपाल टेलिकमले दैनिक २ जीबी डाटा, ५० एसएमएस तथा निःशुल्क भ्वाइस कलको सुविधा दिएको छ भने एनसेलले पनि निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको छ ।

अस्थायी मोबाइल कनेक्टिभिटी तथा मोबाइल चार्जिङ सुविधा विस्तार गर्ने कामसमेत भइरहेको छ ।

सडक, पुल र विद्युत् संरचना पुनःस्थापनामा जोड

बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चार संरचना तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय, विभाग तथा निकायलाई आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गर्न निर्देशन दिइएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा विद्युत् संरचना तथा ओपीजीडब्लू पुनःस्थापनाको काम अघि बढाइएको छ । विशेषगरी उद्धार तथा राहत अभियानमा प्रत्यक्ष सहयोग पुर्‍याउने संरचनालाई प्राथमिकतामा राखेर पुनःसञ्चालन गर्ने तयारी गरिएको छ ।

प्रभावित क्षेत्रमा इन्धनको मौज्दात बढाइयो

बाढीपहिरो प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन पनि सरकारले आवश्यक व्यवस्था गरेको छ । नुवाकोटका विभिन्न आयल स्टोरमा २३ हजार लिटर डिजल र ६ हजार लिटर पेट्रोल मौज्दात रहेको छ ।

त्यहाँ थप १५ हजार लिटर डिजल र १५ हजार लिटर पेट्रोल पठाइएको छ । यस्तै, हवाई उद्धार तथा राहतका लागि आवश्यक हवाई इन्धन ८ हजार लिटर मौज्दात रहेकोमा थप ९ हजार लिटर पठाइएको सरकारले जनाएको छ ।

ड्रोनबाट क्षतिको विवरण संकलन

प्रभावित क्षेत्रको वास्तविक अवस्था र क्षतिको यथार्थ विवरण संकलन गर्न ड्रोन सर्वेक्षण तथा स्थलगत मूल्यांकनलाई समेत तीव्र पारिएको छ । यसबाट फसेका नागरिक, अवरुद्ध सडक, पुल तथा अन्य भौतिक संरचनाको अवस्था पहिचान गरी उद्धार र राहतलाई थप लक्षित बनाउने सरकारको तयारी छ ।

यसैबीच, सम्भावित थप बाढीपहिरो तथा अन्य जोखिमलाई ध्यानमा राख्दै भोटेकोशी र त्रिशूली नदीको बहाव निरन्तर निगरानीमा राखिएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

मृतकका परिवारलाई आर्थिक सहायता दिने तयारी

सरकारले बाढीपहिरोमा ज्यान गुमाएकाका परिवारलाई प्रचलित कानुनअनुसार आर्थिक सहायता उपलब्ध गराउने जनाएको छ । मृतकको पहिचान तथा शव व्यवस्थापनलाई पनि व्यवस्थित रूपमा अघि बढाइएको छ ।

राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन भइरहेको प्रधानमन्त्री शाहले बताएका छन् । भारतबाट राहत सामग्री प्राप्त भएको तथा अमेरिका, युरोपेली संघ, विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघलगायतका अन्तर्राष्ट्रिय साझेदारसँग आवश्यक सहयोग र समन्वय भइरहेको उनले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय सरकारसँगै सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, स्वयंसेवी संस्था तथा विकास साझेदारबीच निरन्तर समन्वय भइरहेको बताएका छन् । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहलाई प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी तत्काल प्रतिकार्य अघि बढाउन निर्देशन दिइएको छ ।

उनका अनुसार अहिले सरकारको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित छ ।

प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यका लागि आवश्यक स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै संकटको अवस्था सामान्य नहुँदासम्म राज्यका सबै संयन्त्र मैदानमै परिचालित रहने बताएका छन् ।

नेपालको आवश्यकता अनुसार सहयोग गर्न तयार छौँ : चीन

काठमाडौं । भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति चीनले दुःख व्यक्त गर्दै नेपाललाई आवश्यकताअनुसार आपत्कालीन सहायता उपलब्ध गराउन तयार रहेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले विपद्का कारण दुवै देशमा ठूलो जनधनको क्षति भएको र बेपत्ता भएकाको खोजी तथा उद्धारका लागि नेपाल र चीनबीच निरन्तर समन्वय भइरहेको बताएका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीसँगको कुराकानीमा प्रवक्ता जियानले बाढीपहिरोका कारण चीन र नेपाल दुवैतर्फ ठूलो क्षति भएको उल्लेख गर्दै प्रभावित सबैप्रति चीनको सहानुभूति रहेको बताए । उनले नेपाल सरकार तथा विपद्बाट प्रभावित नागरिकप्रति चिनियाँ सरकारका तर्फबाट समवेदना तथा सहानुभूति व्यक्त गरेका छन् ।

उनका अनुसार चीनतर्फको प्रभावित क्षेत्रमा २६० जना विदेशी नागरिक सम्पर्कविहीन रहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । यद्यपि घटनास्थलको कठिन अवस्था र सूचना संकलनमा देखिएको समस्याका कारण उक्त विवरणको थप प्रमाणीकरण भइरहेको उनले बताए ।

चिनियाँ पक्षले विपद्पछि खोजी तथा उद्धारलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्भावित जोखिममा परेका नागरिकको उद्धार, प्रभावितको सुरक्षित स्थानान्तरण, घाइतेको तत्काल उपचार तथा मानवीय क्षति न्यून गर्न सबै उपलब्ध स्रोतसाधन परिचालन गर्न निर्देशन दिएको जियानले बताए ।

उनका अनुसार राष्ट्रपति सीले विपद् प्रभावित क्षेत्रमा निरन्तर अनुगमन तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन, उद्धार क्षमता थप मजबुत पार्न र सम्भावित दोस्रो विपद्बाट नागरिकलाई जोगाउन विशेष ध्यान दिन निर्देशन दिएका छन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि बेपत्ता तथा प्रभावित नागरिकको संख्या यथाशीघ्र यकिन गर्न र जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा सार्न निर्देशन दिएको जियानले जानकारी दिए । उपप्रधानमन्त्री चाङ क्वोछिङ सम्बन्धित विभागका अधिकारीसहित प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा विपद् व्यवस्थापनको प्रत्यक्ष निरीक्षण गरिरहेको उनले बताए ।

चीनका सम्बन्धित निकायले विपद् व्यवस्थापनका लागि राष्ट्रियस्तरमा दोस्रो तहको आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ । सिजाङ स्वायत्त क्षेत्रले समेत प्राकृतिक विपद्का लागि पहिलो तहको आपत्कालीन प्रतिक्रिया प्रणाली लागू गरेको जनाएको छ ।

उद्धार अभियानमा चिनियाँ सेना, सशस्त्र प्रहरी, सीमा सुरक्षा तथा निरीक्षण निकाय, दमकल र अन्य सम्बन्धित विभागका टोली परिचालन गरिएको छ । ती टोली प्रभावित क्षेत्रमा पुगेर बेपत्ता नागरिकको खोजी, उद्धार तथा राहत वितरणमा जुटेको चिनियाँ पक्षले जनाएको छ ।

जियानले विपद्बाट प्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिलाई पार गर्दै आफ्नो घर तथा समुदाय पुनःनिर्माण गर्न सक्ने विश्वाससमेत व्यक्त गरे । चीनले विपद्को अवस्थामा आवश्यक सबै सहयोग र समन्वयलाई निरन्तरता दिने उनको भनाइ छ ।

नेपाल र चीन दुवैतर्फ बाढीपहिरोबाट ठूलो क्षति भएको भन्दै उनले दुई देशका सम्बन्धित निकायबीच खोजी तथा उद्धारका विषयमा निकट सम्पर्क भइरहेको बताए । नेपालले आवश्यकताअनुसार सहयोग मागेमा चीन आपत्कालीन सहायता उपलब्ध गराउन तयार रहेको उनले स्पष्ट पारे ।

चीनतर्फ २६० विदेशी नागरिक बेपत्ता

चिनियाँ अधिकारीहरूले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार चीनतर्फ विपद् प्रभावित क्षेत्रमा २६० जना विदेशी नागरिक सम्पर्कविहीन छन् । घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेकाले यो संख्या अन्तिम नभएको र थप प्रमाणीकरण भइरहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

प्रवक्ता जियानले उद्धारका क्रममा नागरिकको राष्ट्रियताभन्दा मानव जीवनलाई प्राथमिकता दिइएको बताए । बेपत्ता विदेशी नागरिकको अवस्थाबारे सम्बन्धित देशका दूतावास तथा कूटनीतिक नियोगसँग चीनले सम्पर्क र समन्वय गरिरहेको उनको भनाइ छ ।

नेपालतर्फ करिब १०० चिनियाँ नागरिक सम्पर्कविहीन

नेपालतर्फ भने करिब १०० चिनियाँ नागरिक सम्पर्कविहीन रहेको चिनियाँ पक्षले जनाएको छ । नेपालस्थित चिनियाँ दूतावासले सम्बन्धित नेपाली निकायसँग सम्पर्क गरी बेपत्ता नागरिकको विवरण थप यकिन गर्न आग्रह गरिरहेको बताइएको छ ।

दूतावासले नेपालमा रहेका आफ्ना नागरिकका लागि सुरक्षा सतर्कता जारी गर्दै जोखिमयुक्त क्षेत्रबाट तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ । बाढीपछि पहिरो तथा अन्य जोखिम कायम रहेकाले दोस्रो विपद्बाट जोगिन विशेष सावधानी अपनाउन चिनियाँ नागरिकलाई आग्रह गरिएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले आवश्यकतामा परेका आफ्ना नागरिकलाई सहयोग गर्न चौबिसै घण्टा सम्पर्कमा रहने जनाएको छ । उद्धार तथा राहतका क्रममा नेपाल सरकार र सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता पनि चिनियाँ पक्षले जनाएको छ ।

चीनले नेपालको आवश्यकताअनुसार थप आपत्कालीन सामग्री, उद्धार सहयोग तथा अन्य मानवीय सहायता उपलब्ध गराउन सक्ने संकेत दिएको छ । यससँगै भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको खोजी, उद्धार र पुनर्स्थापनामा नेपाल–चीन समन्वय थप महत्वपूर्ण हुने देखिएको छ ।

भोटेकोशीमा फेरि उर्लिन सक्छ बाढी?

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार भदौ १० गते आएको असामान्य बाढीले रसुवासहित नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा र नवलपरासी पूर्वसम्म ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि विभिन्न जिल्लामा शव भेटिने क्रम जारी छ भने सयौँ मानिस अझै सम्पर्कविहीन रहेको सरकारी विवरण छ। बाढीले दर्जनौँ पुल, सडक तथा अन्य भौतिक संरचना बगाएपछि यसलाई पछिल्लो समयकै ठूलो प्राकृतिक विपत्तिका रूपमा लिइएको छ।

बाढी यति ठूलो र अचानक कसरी आयो भन्नेबारे जलवायु विज्ञ, हिमनदी तथा हिमाली भूगोलका विशेषज्ञ र विपद् व्यवस्थापनसम्बन्धी निकायहरूले अध्ययन गरिरहेका छन्। प्रारम्भिक अध्ययनमा हिमचट्टान तथा बरफको ठूलो भाग खस्दा भोटेकोशीको सहायक ल्हेन्दे खोला थुनिएको र त्यसपछि बनेको अस्थायी ताल फुट्दा अत्यधिक वेगसहितको बाढी आएको हुन सक्ने देखिएको छ।

रसुवागढीमा अचानक उर्लिएको भोटेकोशी

बुधबार बिहान नेपाल–चीन सीमास्थित रसुवागढी क्षेत्रमा भोटेकोशी नदीको बहाव एक्कासि बढेपछि स्थानीय तथा सुरक्षाकर्मीबीच भागदौड मच्चिएको थियो। नदीमा आएको असामान्य बाढी देखेपछि सुरुमा तिब्बततर्फ हिमताल फुटेको हुन सक्ने अनुमान गरिएको थियो भने कतिपयले हिमपहिरोलाई सम्भावित कारण मानेका थिए।

तर घटनाको केही घण्टासम्म बाढीको वास्तविक कारणबारे यकिन जानकारी प्राप्त हुन सकेन। बाढी रसुवागढीबाट तल्लो तटीय क्षेत्रतर्फ तीव्र गतिमा फैलिँदै गएपछि रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुग्यो।

बाढीले नदी आसपासका बस्ती, सडक, पुल र अन्य संरचनामा ठूलो क्षति पुर्‍यायो। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहे पनि बाढीको अत्यधिक वेगका कारण क्षतिको पूर्ण विवरण संकलन गर्न कठिन भइरहेको छ।

हिमपहिरोपछि नदी थुनिएको प्रारम्भिक निष्कर्ष

स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणपछि विज्ञहरूले भोटेकोशीमा आएको बाढी हिमताल विस्फोटभन्दा फरक प्रकृतिको हुन सक्ने बताएका छन्। उनीहरूका अनुसार ठूलो हिमचट्टान तथा बरफ खस्दा ल्हेन्दे खोला केही समयका लागि थुनिएको र त्यसबाट बनेको अस्थायी ताल फुटेपछि ठूलो मात्रामा गेग्रानसहितको पानी तल्लो क्षेत्रमा आएको हुन सक्छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्लानेट ल्याब्सबाट प्राप्त स्याटेलाइट तस्बिरको अध्ययन गर्दा रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वतर्फ नेपाल–चीन सीमाक्षेत्रमा हिमचट्टान पहिरो गएको देखिएको जनाएको छ। त्यसैका कारण ल्हेन्दे खोलामा ठूलो परिमाणमा गेग्रान थुप्रिएको र त्यसपछि बाढी उत्पन्न भएको हुन सक्ने प्रारम्भिक आकलन गरिएको छ।

नेपाल र चीनतर्फबाट प्राप्त विभिन्न तस्बिर तथा सूचनालाई आधार बनाएर गरिएको विश्लेषणमा समेत बाढीको मुख्य स्रोत नेपालतर्फको हिमाली क्षेत्रमा गएको हिमपहिरो हुन सक्ने संकेत देखिएको छ।

भूकम्प पनि गएको थियो, तर सम्बन्ध पुष्टि छैन

बाढी आउनुअघि तिब्बत क्षेत्रमा भूकम्प गएको तथ्यले पनि घटनालाई थप चासोको विषय बनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार बुधबार बिहान ८ बजेर ३७ मिनेटमा गोसाइँकुण्डबाट करिब ४७ किलोमिटर उत्तरतर्फ तिब्बतको भूभागमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्प र हिमपहिरोको समय नजिक रहे पनि यी दुई घटनाबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भने भइसकेको छैन। भूकम्पले हिमचट्टान खस्न सहयोग गरेको हो वा हिमपहिरो प्राकृतिक रूपमा नै गएको हो भन्नेबारे थप वैज्ञानिक अध्ययन आवश्यक रहेको विज्ञहरूको भनाइ छ।

७ हजार २४५ मिटर अग्लो लाङटाङ लिरुङको उत्तरी मोहडामा हिमपहिरो गएको हुन सक्ने अनुमानसमेत गरिएको छ। यसअघि २०७२ सालको भूकम्पका क्रममा यही हिमालको दक्षिणी मोहडाबाट हिमपहिरो खस्दा लाङटाङ गाउँमा ठूलो क्षति पुगेको थियो र करिब ३ सय जनाको ज्यान गएको थियो।

ल्हेन्दे खोलामा बनेको अस्थायी तालले बढायो बाढीको वेग

काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा जलवायु अनुसन्धानकर्ता रिजनभक्त कायस्थले प्रारम्भिक अध्ययन र नेपाल तथा चीनका वैज्ञानिकसँग भएको छलफलका आधारमा हिमपहिरोले ल्हेन्दे खोला थुनेको हुन सक्ने बताएका छन्।

उनका अनुसार हिमपहिरोबाट आएको बरफ, चट्टान र अन्य गेग्रानले खोला थुनिएपछि केही समयका लागि पानी जम्मा भएको र त्यसपछि प्राकृतिक अवरोध फुट्दा ठूलो वेगमा पानी तथा गेग्रान तलतिर बगेको हुन सक्छ।

यस्तो अवस्थामा सामान्य नदीबाढीभन्दा पानीको बहाव निकै शक्तिशाली हुने विज्ञहरू बताउँछन्। इसिमोडका प्रारम्भिक विश्लेषणले पनि बाढीको बहाव असाधारण रूपमा तीव्र रहेको देखाएको छ।

इसिमोडका अनुसार गल्छी क्षेत्रमा त्रिशूली नदीको पानीको सतह करिब ३० मिनेटमै ९ मिटरसम्म बढेको थियो। मलेखु क्षेत्रमा पनि त्यही अवधिमा पानीको सतह करिब ७ मिटरसम्म बढेको प्रारम्भिक विश्लेषण छ।

गत वर्षको बाढीसँग फरक प्रकृतिको घटना

भोटेकोशी र ल्हेन्दे खोला क्षेत्रमा यसअघि पनि आकस्मिक बाढीको घटना भइसकेको थियो। गत वर्ष असार २४ गते आएको बाढीबारे जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्दा हिमताल विस्फोटका कारण ल्हेन्दे खोलामा बाढी आएको निष्कर्ष निकालेको थियो।

सेन्टिनेल उपग्रहबाट गरिएको अध्ययनमा हिमताल फुटेपछि बाढी आएको देखिएको विभागले जनाएको थियो। हिमाली क्षेत्रमा जोखिमपूर्ण अवस्थामा रहेका हिमतालबारे यसअघि नै विभिन्न अध्ययन सार्वजनिक भए पनि अहिले बाढी आएको स्थानमै हिमपहिरो गएर नदी थुनिने पूर्वानुमान भने गरिएको थिएन।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को अध्ययनअनुसार नेपाल, भारत र चीनको तिब्बत क्षेत्रमा गरी ३ हजार ६ सय २४ हिमताल छन्। तीमध्ये ४७ वटा हिमताल विस्फोटको जोखिममा रहेको अध्ययनले देखाएको छ। जोखिममा रहेका ४७ हिमतालमध्ये २१ वटा नेपालतर्फ रहेको बताइएको छ।

थप जोखिम अझै टरेको छैन

बुधबार आएको बाढीपछि ल्हेन्दे खोला पूर्ण रूपमा खुलिसकेको हो वा त्यस क्षेत्रमा अझै पानी तथा गेग्रान थुनिएको छ भन्ने विषयमा पनि विज्ञहरूले निगरानी गरिरहेका छन्।

प्राध्यापक कायस्थका अनुसार सुरुमा ठूलो पानीको पोखरी बनेको हुन सक्ने आशंका गरिए पनि त्यसको स्पष्ट प्रमाण अझै प्राप्त भइसकेको छैन। बादल तथा मौसमको अवस्थाका कारण स्याटेलाइट तस्बिरसमेत स्पष्ट नआएकाले घटनास्थलको पूर्ण अवस्थाबारे निष्कर्षमा पुग्न समय लाग्ने देखिएको छ।

हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा हिमनदी पग्लिने, हिमचट्टान कमजोर हुने र हिमपहिरोको सम्भावना बढ्ने जोखिम भने कायमै रहेको विज्ञहरू बताउँछन्। तर कुन क्षेत्रमा कहिले हिमपहिरो जान्छ भन्ने कुरा यकिन रूपमा पूर्वानुमान गर्न अझै कठिन रहेको उनीहरूको भनाइ छ।

चीनतर्फ पनि ठूलो जलाशय बनेको सूचना

यसैबीच, चीनको जलस्रोत मन्त्रालयले सीमापारिको क्षेत्रमा ठूलो जलाशययुक्त ताल बनेको जानकारी दिएको छ। चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको दोभाननजिकै बनेको उक्त जलाशयमा बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर पानी जम्मा भएको र पानी बाहिरिन थालेको जनाइएको छ।

चिनियाँ पक्षका अनुसार आगामी तीन दिनमा उक्त तालमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको छ। त्यसकारण ताल फुट्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै त्यहाँको अवस्थालाई निरन्तर निगरानीमा राखिएको छ।

चीनले सम्भावित जोखिमको आकलन गर्न बाढीको बहावसम्बन्धी नमुना अध्ययन तथा विश्लेषण गरिरहेको जनाएको छ। साथै, आवश्यक परे आपत्कालीन उद्धार तथा व्यवस्थापनका लागि सहयोग गर्ने तयारीसमेत गरिएको बताइएको छ।

अब के गर्नुपर्छ?

विज्ञहरूका अनुसार भोटेकोशीमा आएको बाढीको वास्तविक कारण पहिचान गर्न घटनास्थलको विस्तृत भौगोलिक अध्ययन, उच्च क्षमताका स्याटेलाइट तस्बिर, हिमनदी तथा हिमतालको अवस्था र नदीमा थुप्रिएको गेग्रानको अध्ययन आवश्यक छ।

इसिमोड र नेपाल तथा चीनका सम्बन्धित वैज्ञानिक संस्थाले संयुक्त रूपमा अध्ययन गरिरहेका कारण बाढीको वास्तविक कारणबारे थप स्पष्ट विवरण आउन केही समय लाग्ने बताइएको छ। प्रारम्भिक अध्ययनले भने हिमपहिरो, नदी थुनिनु, अस्थायी जलाशय बन्नु र त्यसपछि अवरोध फुटेर अत्यधिक वेगमा पानी तथा गेग्रान बग्नु नै यस विपत्तिको सम्भावित प्रमुख कारण देखाएको छ।

तर हिमपहिरोमा भूकम्पको भूमिका थियो कि थिएन र चीनतर्फ बनेको भनिएको जलाशयले आगामी दिनमा नेपालमा थप जोखिम निम्त्याउन सक्छ कि सक्दैन भन्ने विषय अझै अनुसन्धानकै चरणमा छ। त्यसैले भोटेकोशी तथा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा तत्काल उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ।

बाढीपीडितको उद्धारमा जुट्यो एकैदिन २७ करोड

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि एकैदिन २७ करोड रुपैयाँभन्दा बढी सहयोग संकलन भएको छ । बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउन निजी क्षेत्र, सरकारी निकाय तथा विभिन्न संघसंस्थाले आर्थिक सहयोग जुटाउन थालेका हुन् ।

बाढीपीडितको उद्धार तथा राहतका लागि सरकारले अघि सारेको एकद्वार प्रणालीअन्तर्गत संकलित सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ । सोही क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा उपस्थित भएका विभिन्न निजी तथा सरकारी कम्पनी एवं संस्थाका प्रतिनिधिबाट सहयोग रकम ग्रहण गरेका छन् ।

अर्थ मन्त्रालयका अनुसार पछिल्लो ६ घण्टाको अवधिमा मात्रै १० वटा निजी तथा सरकारी कम्पनी तथा संस्थाले कुल २७ करोड ३३ लाख रुपैयाँ बराबरको सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका छन् । छोटो समयमै ठूलो रकम संकलन भएपछि बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा निजी क्षेत्रको सहभागिता बढेको देखिएको छ ।

संकलित रकम रसुवासहित बाढीबाट प्रभावित अन्य क्षेत्रमा समेत आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गरिनेछ । बाढीका कारण कतिपय बस्तीमा सडक तथा पुल भत्किनुका साथै यातायात र सञ्चार सेवा प्रभावित भएकाले उद्धार तथा राहत सामग्री पुर्‍याउन समेत चुनौती देखिएको छ । यस्तो अवस्थामा संकलित सहयोगलाई तत्कालीन राहतसँगै प्रभावित क्षेत्रको पुनर्स्थापना र भौतिक संरचनाको पुनःनिर्माणमा समेत उपयोग गर्ने तयारी गरिएको छ ।

सरकारले विपद्का बेला प्राप्त हुने सहयोगलाई व्यवस्थित र पारदर्शी रूपमा परिचालन गर्न एकद्वार प्रणाली लागू गरेको जनाएको छ । यसअन्तर्गत विभिन्न व्यक्ति, व्यवसायिक प्रतिष्ठान, निजी क्षेत्र तथा संघसंस्थाबाट प्राप्त हुने आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने र आवश्यकताअनुसार सम्बन्धित क्षेत्रमा परिचालन गरिनेछ ।

रसुवामा आएको बाढीले सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ भने विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ । प्रभावित क्षेत्रमा उद्धार, बेपत्ता व्यक्तिको खोजी, विस्थापितको व्यवस्थापन तथा खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्रीको आपूर्ति तत्काल गर्नुपर्ने अवस्था रहेकाले आर्थिक स्रोत जुटाउने कामलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।

यसैबीच, बाढीपीडितको सहयोगका लागि थप निजी क्षेत्र तथा संघसंस्थाले समेत आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाइरहेका छन् । सरकारले विपद्को यस कठिन समयमा आफ्नो क्षमताअनुसार सहयोग गर्न सबै पक्षलाई आग्रह गर्दै प्राप्त सहयोगलाई प्रभावित नागरिकको आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गर्ने जनाएको छ ।

बाढीले ४० किलोमिटर सडक र ४१ वटा पुल ध्वस्त

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। बाढीका कारण वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी-रसुवागढी सडक खण्डमा ठूलो क्षति पुगेको हो। यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत अवरुद्ध भएको छ।

बाढीपहिरोका कारण पृथ्वीराजमार्गको करिब १३ किलोमिटर सडक लेदोले पुरिएको छ। उक्त लेदो हटाएर राजमार्गलाई तत्काल सञ्चालनमा ल्याउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ।

बाढीबाट विभिन्न स्थानमा ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सडक सम्पर्क पुनःस्थापित गर्न सरकारले आफूसँग रहेका ५० मिटरसम्म लम्बाइका सात वटा बेलिब्रिजमध्ये आवश्यक स्थान पहिचान गरी जडानको तयारी थालेको छ। भारत र चीन सरकारबाट समेत आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको बताइएको छ।

सरकारले पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई पुनः सडक सञ्जालमा जोड्ने रणनीतिअनुसार काम अघि बढाएको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ। वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था नरहेको बताइएको छ।

सडक खुलाउने कामलाई तीव्रता दिन सरकारीतर्फबाट उपलब्ध गराइएका १० र निजी क्षेत्रबाट प्राप्त १० गरी २० वटा निर्माण उपकरण परिचालन गरिएको छ। क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माणसँगै यातायात सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने गरी उद्धार तथा पुनःस्थापनाको काम तीव्र पारिएको छ।

देउवा र खड्काको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासले महाधिवेशन रोक्नुपर्ने मागसहित परेको पूरक निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार देउवा र खड्काले महाधिवेशन रोक्न माग गर्दै दिएको पूरक निवेदनमा तीन सदस्यीय पूर्ण इजलासले अन्तरिम आदेश जारी गर्न आवश्यक नदेखेको हो । उनले महाधिवेशन रोक्न माग गरिएको भए पनि अदालतले तत्काल त्यस्तो आदेश नदिएको जानकारी दिए ।

सर्वोच्चको पछिल्लो आदेशसँगै नेपाली कांग्रेसको संस्थापन समूहलाई नियमित पार्टी गतिविधि अघि बढाउन बाटो खुलेको छ । पुनरवलोकनको निवेदनमाथि सुनुवाइका क्रममा अदालतबाट भविष्यमा जस्तोसुकै आदेश आउन सक्ने भए पनि हाललाई महाधिवेशन रोक्ने गरी अन्तरिम आदेश नहुने सर्वोच्चले स्पष्ट गरेको छ ।

देउवा–खड्का समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई स्वीकार नगर्दै आएको छ । यता सभापति गगन थापा नेतृत्वको कांग्रेसले भने आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारीसहित पार्टीका गतिविधि अघि बढाइसकेको छ ।

बाढीपीडितलाई निजामती कर्मचारीको ३६ करोड सहयोग

काठमाडौं । बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजामती कर्मचारीबाट करिब ३६ करोड रुपैयाँ योगदान हुने भएको छ ।

बिहीबार बसेको सचिव बैठकले सबै निजामती कर्मचारीको भदौ महिनाको तलब भुक्तानी गर्दा निश्चित दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार श्रेणीविहीन कर्मचारीबाट मासिक सुरु तलब स्केलबराबरको दुई दिनको तलब योगदान गरिनेछ । त्यस्तै, राजपत्र अनंकित कर्मचारी वा सोसरहका कर्मचारीबाट पाँच दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सोसरहका कर्मचारीबाट सात दिन तथा राजपत्रांकित प्रथम र विशिष्ट श्रेणीका कर्मचारीबाट १० दिन बराबरको पारिश्रमिक कोषमा जम्मा गरिनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कर्मचारीबाट संकलन हुने उक्त रकम अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाइनेछ ।

सचिव बैठकले प्रदेश सरकार, स्थानीय तह तथा सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई समेत बाढीपीडितका लागि सोही आधारमा आर्थिक योगदान गर्न आह्वान गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा मानवअधिकारको अवस्था अनुगमन गर्दै आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रभावित जिल्लामा मानवअधिकारको अवस्थाबारे स्थलगत अनुगमन गर्ने भएको छ।

भदौ १० गते भोटेकोशी हुँदै आएको बाढीका कारण नुवाकोट, धादिङ, गोरखा, तनहुँलगायत जिल्लाका १५ वटा स्थानीय तहमा ठूलो जनधनको क्षति भएको थियो। विपद्पछि प्रभावित नागरिकको अवस्था, उनीहरूले पाउनुपर्ने आधारभूत सेवा तथा राहत र पुनर्स्थापनाको स्थितिबारे जानकारी लिन आयोगले टोली परिचालन गरेको हो।

आयोगका अनुसार केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयबाट दुई छुट्टाछुट्टै टोली प्रभावित क्षेत्रमा खटाइएको छ। टोलीले विपद्पछिको मानवअधिकार अवस्था, उद्धार तथा राहतको पहुँच र प्रभावित नागरिकका आधारभूत आवश्यकताबारे स्थलगत जानकारी संकलन गर्नेछ।

आयोगले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग, समन्वय र मानवीय सेवा उपलब्ध गराउन सरकार, सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक संघसंस्था तथा आम नागरिकलाई आग्रह गरेको छ।

प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि संघीय सरकार, प्रदेश तथा स्थानीय तहसँगै राजनीतिक दल, विभिन्न संघसंस्था र नागरिकस्तरबाट भइरहेको पहलप्रति आयोगले सकारात्मक धारणा व्यक्त गरेको छ।

विपद् सकिएपछि पनि प्रभावित नागरिकका समस्या तत्काल समाधान नहुन सक्ने भन्दै आयोगले उनीहरूको सुरक्षा र आधारभूत आवश्यकतामा विशेष ध्यान दिन आग्रह गरेको छ।

आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा बाढी प्रभावित क्षेत्रमा सुरक्षित बसोबास, खाद्यान्न, स्वच्छ खानेपानी, स्वास्थ्य सेवा तथा सरसफाइजस्ता आधारभूत विषय अझै चुनौतीपूर्ण बन्न सक्ने उल्लेख गरिएको छ।

आयोगले विपद्पछिको पुनर्स्थापनाका क्रममा प्रभावित नागरिकको मानवअधिकार सुनिश्चित गर्न सम्बन्धित सबै पक्षलाई जिम्मेवार भएर काम गर्नसमेत आग्रह गरेको छ।

शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

काठमाडौं। बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछेको आरोपमा चितवनमा दुई जना पक्राउ परेका छन्।

मृतकको कानबाट सुनको मुन्द्रा निकालिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्नको खोजी थालेको थियो। भिडियोका आधारमा पहिचान गरिएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बाढीले बगाएर ल्याएको शवसमेत सुरक्षित नरहेको देखिने भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा घटनाको चर्को विरोध भएको थियो। विपत्तिको समयमा मृतकप्रति देखाइएको यस्तो व्यवहारलाई अमानवीय भन्दै दोषीमाथि कडा कारबाहीको मागसमेत उठेको थियो। यसैबीच बिहिवार राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पनि सर्वदलीय बैठकपछि घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेका थिए।

पक्राउ परेकामाथि शवप्रति अमानवीय व्यवहार र चोरीसम्बन्धी प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

हिमाली विपद् रोक्न नेपाल-भारत-चीनबीच सहकार्य आवश्यक : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम कम गर्न नेपाल, भारत र चीनबीच आपसी सहकार्य आवश्यक रहेको बताएका छन्।

काठमाडौंमा बिहीबार आयोजित ‘एनडीटीभी अन्विक्षा : आइडियाज एक्रस बोर्डर्स’ कार्यक्रममा बोल्दै लामिछानेले रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएकाले कार्यक्रमको नियमित विषयमा प्रवेश गर्नुअघि मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न आग्रह गरे। त्यस क्रममा सहभागीहरूले एक मिनेट मौनधारण गरेका थिए।

भोटेकोशी र त्रिशूली नदी आसपासको क्षेत्रमा बाढीले बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्‍याएको उल्लेख गर्दै उनले क्षतिको पूर्ण विवरण अझै संकलन भइरहेको बताए। त्यसैले मानवीय तथा भौतिक क्षतिको यकिन तथ्यांक अहिले नै सार्वजनिक गर्न कठिन रहेको उनको भनाइ थियो।

सरकारले सुरक्षा निकायलाई परिचालन गरेर खोज तथा उद्धार जारी राखेको र प्रभावित क्षेत्रमा राहत पुर्‍याउने काम भइरहेको लामिछानेले बताए। विपद्को समयमा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा प्रभावित क्षेत्रमा तत्काल सहयोगमा जुटेका स्थानीय नागरिकको उनले प्रशंसा गरे।

विपद्को प्रारम्भिक अवस्थामा बाह्य सहयोग पुग्नुअघि नै स्थानीय समुदाय उद्धारमा अग्रपंक्तिमा उभिने गरेको उनको भनाइ थियो। नेपाललाई सहयोग र ऐक्यबद्धता जनाउने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति पनि लामिछानेले धन्यवाद व्यक्त गरे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोनमार्फत कुराकानी गरी समवेदना व्यक्त गर्नुका साथै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले भारतबाट राहत सामग्रीसमेत प्राप्त भइरहेको बताए।

लामिछानेले पछिल्लो बाढीले नेपालसँगै चीनको सीमावर्ती क्षेत्रमा समेत क्षति पुर्‍याएको भन्दै हिमाली विपद्को प्रभाव राष्ट्रिय सीमाले नछेक्ने बताए। नेपाल, भारत र चीन एउटै हिमाली भू–प्रणालीमा जोडिएकाले तीनै मुलुकले विपद् व्यवस्थापनमा साझा रणनीति बनाउनुपर्ने उनको धारणा थियो।

उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमनदी पग्लिने, नयाँ ताल बन्ने तथा आकस्मिक बाढी र पहिरोको जोखिम बढिरहेको छ। त्यसैले जोखिम न्यूनीकरणका लागि तीन देशबीच पूर्वसूचना प्रणाली विकास, मौसम तथा जलसम्बन्धी तथ्यांक आदानप्रदान र विपद् पूर्वतयारीमा सहकार्य आवश्यक छ।

‘विपद् पूर्ण रूपमा रोक्न नसकिए पनि त्यसबाट हुने क्षति कम गर्न सकिन्छ’ भन्ने धारणा राख्दै लामिछानेले जलवायु परिवर्तनसँग अनुकूलन हुने योजना बनाउनुपर्ने बताए। समयमै सूचना उपलब्ध गराउन सके जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सारेर ठूलो जनधनको क्षति रोक्न सकिने उनको भनाइ थियो।

विशेषगरी नदी तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचना दिने प्रणाली प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। समयमै प्राप्त हुने केही मिनेटको सूचनाले समेत मानिसको ज्यान जोगाउन निर्णायक भूमिका खेल्न सक्ने लामिछानेले बताए।

बाढीमा आफन्त, घर तथा बस्ती गुमाएका परिवारप्रति सहानुभूति व्यक्त गर्दै उनले विपद्को यो घडीमा सिंगो देश एकजुट हुनुपर्ने बताए। नेपालप्रति ऐक्यबद्धता जनाउने विभिन्न देश, अन्तर्राष्ट्रिय संस्था, विकास साझेदार तथा सर्वसाधारणप्रति पनि उनले आभार व्यक्त गरे।

कार्यक्रममा नेपाल–भारत सम्बन्ध तथा ‘आकांक्षी नेपाल र उदाउँदो भारत : सँगै हाम्रो भविष्य निर्माण’ विषयमा धारणा राख्ने कार्यक्रम रहे पनि मुलुक विपद्को पीडामा रहेकाले निर्धारित विषयमा विस्तृत छलफल गर्न नसकेको लामिछानेले बताए।

आगामी दिनमा उक्त विषयमा आफ्ना विचार प्रस्तुत गर्ने अवसर पाउने विश्वास उनले व्यक्त गरे।

चीनका प्रधानमन्त्री ली छियाङ बाढी प्रभावित तिब्बत पुगे

काठमाडौं। चीनका प्रधानमन्त्री ली छियाङ बाढीपहिरोबाट प्रभावित तिब्बतको केरुङस्थित ग्यिरोङ क्षेत्रमा पुगेका छन्।

बुधबार आएको विनाशकारी बाढीपहिरोबाट भएको क्षति, उद्धारको अवस्था र प्रभावित नागरिकको अवस्थाबारे जानकारी लिन उनी बिहीबार घटनास्थल पुगेका हुन्।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार प्रधानमन्त्री लीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै उद्धार तथा राहतमा खटिएका अधिकारी र सुरक्षाकर्मीसँग आवश्यक जानकारी लिएका छन्। उनले बाढीपहिरोका कारण प्रभावित स्थानीयको अवस्थाबारे समेत जानकारी लिने कार्यक्रम रहेको जनाइएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्यसमेत रहेका लीलाई राष्ट्रपति सी चिनफिङले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यको नेतृत्व गर्न जिम्मेवारी दिएका हुन्। प्रधानमन्त्री लीसँगै सम्बन्धित सरकारी निकायका वरिष्ठ अधिकारीहरू पनि तिब्बत पुगेका छन्। टोलीले विपद्बाट भएको क्षतिको मूल्याङ्कन तथा उद्धार कार्यको स्थलगत अनुगमन गर्नेछ।

यसअघि बुधबार नै चीनका उपप्रधानमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य झाङ गुओछिङ तिब्बतको ग्यिरोङ काउन्टी पुगेका थिए। उनले केरुङ क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको निरीक्षण गर्दै उद्धार तथा राहत कार्यबारे जानकारी लिएका थिए।

बुधबार बिहानै राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लीले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलाई प्राथमिकता दिन, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न तथा घाइतेको उपचारमा कुनै ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

बाढीपहिरोका कारण चीनको शिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ तथा नेपाल–चीन सीमावर्ती क्षेत्रमा ठूलो क्षति पुगेको छ। केरुङ बन्दरगाह आसपासका सडक, विद्युत् तथा सञ्चार संरचनामा समेत क्षति पुगेपछि आवागमन र सम्पर्क प्रभावित भएको बताइएको छ।

चिनियाँ पक्षका अनुसार केरुङ क्षेत्रमा तीन जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। बाढी र पहिरोका कारण अस्थिर बनेको भूभाग तथा पहाडी क्षेत्रमा रहेको कठिन भौगोलिक अवस्थाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। चिनियाँ सुरक्षाकर्मी तथा उद्धारकर्मीले खोजी कुकुर, ड्रोन र आवश्यक उपकरणको प्रयोग गरी बेपत्ताको खोजी गरिरहेका छन्।

यसैबीच, नेपालतर्फ करिब एक सय चिनियाँ नागरिक अझै सम्पर्कविहीन रहेको चीनको विदेश मन्त्रालयले जनाएको छ। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले नेपालमा रहेका चिनियाँ नागरिकको अवस्थाबारे नेपाली पक्षसँग समन्वय भइरहेको जानकारी दिएका हुन्।

उनका अनुसार नेपालस्थित चिनियाँ दूतावासले नेपाली सम्बन्धित निकायसँग सहकार्य गर्दै बेपत्ता चिनियाँ नागरिकको विवरण यकिन गर्ने, खोजी गर्ने र आवश्यक सहयोग उपलब्ध गराउने काम अघि बढाइरहेको छ।

नेपालतर्फ रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, रसुवागढी तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीको प्रभाव त्रिशूली र नारायणी नदी हुँदै अन्य जिल्लासम्म पुगेको छ। नेपालमा समेत ठूलो मानवीय तथा भौतिक क्षति भएको छ भने सुरक्षाकर्मी, स्थानीय बासिन्दा, मजदुर तथा विदेशी नागरिकसमेत बेपत्ता रहेको विवरण सार्वजनिक भइरहेका छन्।

बाढीपहिरोले नेपाल र चीनबीचको सीमा क्षेत्र जोड्ने सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएपछि दुवैतर्फ आवागमन प्रभावित भएको छ। सीमावर्ती क्षेत्रमा उद्धार र राहत सामग्री पुर्‍याउनसमेत कठिनाइ भइरहेको छ।

विपद्को अवस्थालाई ध्यानमा राख्दै चीनले आफ्नोतर्फ उद्धार तथा राहत संयन्त्र सक्रिय बनाएको छ। नेपालस्थित चिनियाँ दूतावासले पनि नेपाली अधिकारीसँग निरन्तर सम्पर्कमा रहेर नेपालमा रहेका चिनियाँ नागरिकको खोजी तथा उद्धारमा सहजीकरण गरिरहेको जनाएको छ।

दुवै देशमा एकै समयमा ठूलो प्राकृतिक विपत्ति देखिएकाले सीमा क्षेत्रमा सूचना आदानप्रदान, उद्धारमा समन्वय तथा प्रभावित नागरिकको सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राखिएको छ।

खोजी तथा उद्धार अभियान जारी रहेकाले मृतक, बेपत्ता र प्रभावितको विवरण थप परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन्।

‘मेरो छोरालाई खोजेर ल्याइदिनुहोस्’ : भोटेकोशी बाढीपछि विजयको परिवारको विलाप [भिडियो]

काठमाडौं। दुई महिनाअघि मात्रै क्यान्सरका कारण श्रीमान् गुमाएकी मानकुमारी खत्रीको जीवनमा अर्को बज्रपात परेको छ।

श्रीमानको मृत्युको पीडा भुल्न नपाउँदै उनको सहारा बनेका छोरा विजय खत्री पनि भोटेकोशीको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्।

दोलखाको जिरी नगरपालिका–७ का ३० वर्षीय विजय बुधबार बिहानदेखि सम्पर्कविहीन छन्। उनी कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको टोली लिएर मंगलबार रसुवा पुगेका थिए।

बुधबार बिहान करिब साढे ८ बजेसम्म उनी सम्पर्कमै थिए। अरनिको यातायात प्रालिका सञ्चालक टंकसँग उनले फोनमा कुराकानी गरेका थिए। सडक हिलाम्मे भएकाले केही सुकेपछि मात्रै हिँड्न टंकले उनलाई सुझाएका थिए। विजयले पनि ‘हुन्छ’ भनेका थिए।

त्यसको केही समयपछि भने उनको मोबाइलमा सम्पर्क हुन छाड्यो। बिहान करिब ९ बजेदेखि विजय सम्पर्कविहीन छन्।

उनी रसुवाको घट्टेखोला क्षेत्रबाट बेपत्ता भएका हुन् । विजय सवार गाडी बाढीले बगाएको टंकले परिवारलाई जानकारी गराएका छन्। तर विजय गाडीबाट निस्केर कतै सुरक्षित स्थानमा पुगेको हुन सक्ने भन्दै परिवारको आशा अझै मरेको छैन।

घरमा भने विजयकी आमा मानकुमारीको आँखा बाटो हेर्दाहेर्दै थाक्न थालेको छ।

‘बाबा बितेको दुई महिना पनि भएको छैन,’ उनले भनिन्, ‘हजुरहरूले खोजेर ल्याइदिनुहोस्। छोरा अहिले सम्पर्कमा छैन।’

श्रीमान् बितेपछि घरको जिम्मेवारी विजयकै काँधमा थियो। आमा मानकुमारीको औषधि उपचारदेखि दैनिक घरखर्चसम्म उनैले धान्दै आएका थिए। मानकुमारी आफैं बिरामी छिन्। उपचार गराइरहेकी उनलाई अस्पताल लैजानेदेखि औषधि किनिदिने काम पनि विजयले नै गर्थे।

‘एउटा छोरा भर्खर विदेश गएको छ। मेरो कोही छैन। म बिरामी छु, उपचार गराउँदैछु,’ उनले नेपालवान एचडीसँग भनिन्, ‘गाडीमा  यताउता हिँडेर मलाई दबाई किनिदिने तिनै छोरा हुन्।’

छोरा हराएपछि मानकुमारीसँग न त जवाफ छ, न त कुनै खबर। उनको आशा भने अझै जीवित छ।

‘अहिले मेरो छोरा छैन। सम्पर्कमा छैन। खोजी कार्यमा सहयोग गरिदिनुहोस्,’ उनले सबैसँग अपिल गरिन्।

विजयकी दिदी शर्मिला खत्रीका लागि पनि यो पीडा शब्दमा व्यक्त गर्न कठिन छ। बुबालाई गुमाएको पीडा नसकिँदै भाइको अवस्था अज्ञात भएपछि परिवारमाथि अर्को ठूलो संकट आइपरेको छ।

‘बुबा क्यान्सरले बितेको दुई महिना भएको छैन। मेरो आमालाई कसले पाल्छ?’  भावुक हुँदै भनिन्, ‘कमाएर ल्याउने त्यही मात्रै भाइ हो। मैले पनि बिहे गरेर गइसकेँ।’

तर बुधबार बिहानदेखि फोन नलागेपछि उनको मनमा डर बढ्दै गएको छ।

‘मेरो भाइ हराएको छ। अहिलेसम्म अत्तोपत्तो छैन। अहिलेसम्म फोन सम्पर्क छैन,’ शर्मिलाले भनिन्।

विजयका नातामा दाइ पर्ने सुन्दर खत्रीले भने बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारमा खटिएका सबैलाई विजयको खोजीमा जुट्न आग्रह गरेका छन्।

परिवारका लागि अहिले विजयको कुनै एउटा खबर नै ठूलो आशा बनेको छ। बाढीले गाडी बगाएको खबर आएको छ, तर उनी बाँचेका छन् भन्ने आशा परिवारले छाडेको छैन।

आमाको एउटै आग्रह छ -‘मेरो छोरालाई खोजेर ल्याइदिनुहोस्।’

विदेशबाटै प्रधानमन्त्री राहत कोषमा रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणमा सहयोग गर्न चाहने विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय दाताका लागि सरकारले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।

पोर्टल सञ्चालनमा आएपछि विदेशमा रहेका नेपाली तथा विभिन्न दातृ निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै रकम जम्मा गर्न सक्ने भएका छन्।

विदेशबाट सहयोग पठाउँदा देखिने प्राविधिक झन्झट हटाउनुका साथै सहयोग संकलनलाई पारदर्शी र व्यवस्थित बनाउन पोर्टल तयार गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

सरकारले विपद् प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि इच्छुक दातालाई यही आधिकारिक माध्यमबाट सहयोग गर्न आग्रह गरेको छ।

सहयोग पठाउने सरकारी पोर्टल

रसुवा बाढीमा करिब १ सय चिनियाँ नागरिक बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि नेपालतर्फ करिब एक सय चिनियाँ नागरिक सम्पर्कविहीन भएको चीनको विदेश मन्त्रालयले जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बाढीका कारण नेपालमा रहेका करिब १ सय चिनियाँ नागरिक बेपत्ता भएको जानकारी दिएका हुन्।

उनका अनुसार नेपालस्थित चिनियाँ दूतावासले नेपाली सम्बन्धित निकायसँग समन्वय गरेर बेपत्ता चिनियाँ नागरिकको विवरण यकिन गर्ने तथा खोजी कार्य अघि बढाइरहेको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी रहेकाले बेपत्ता नागरिकको अवस्थाबारे थप विवरण संकलन भइरहेको चीनले जनाएको छ।

बाढीपीडितको साथमा कलाकार

काठमाडौं। भोटेकोसी नदीमा आएको भीषण बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाली कलाकार तथा कलासँग जोडिएका व्यक्तिहरूले सहयोगको हात अघि बढाएका छन्।

कलाकारहरूले सरकारी राहत कोषमा आर्थिक सहयोग गर्नुका साथै प्रभावित परिवारसम्म राहत पुर्‍याउन विभिन्न माध्यमबाट योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। अभिनेता विराज भट्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार रुपैयाँ प्रदान गरेका छन्।

अभिनेत्री निता ढुङ्गाना तथा गायिका रचना रिमाल र बेनिशा पौडेलले जनही १ लाख रुपैयाँ राहत कोषमा सहयोग गरेका छन्।

अभिनेत्री माल्भिका सुब्बा र निर्माता–वितरक गोविन्द शाहीले ५०–५० हजार रुपैयाँ सहयोग गरेका छन्। निर्माता सुशील पोखरेलले ३३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा प्रदान गरेका छन्।

गायक शिव परियार र गायिका एलिना चौहानले जनही २५ हजार रुपैयाँ तथा लोकगायिका राधिका हमालले २१ हजार रुपैयाँ सहयोग गरेकी छन्। गायक रामकृष्ण ढकालले ११ हजार १११ रुपैयाँ राहत कोषमा जम्मा गरेका छन्।

अभिनेत्री आँचल शर्मा, मिरुना मगर, ऋचा शर्मा, अनमोल केसी, प्राश्ना शाक्य, गजित विष्टलगायत कलाकारले पनि राहत कोषमा आर्थिक सहयोग गरेका छन्। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफ्नो आधा महिनाको तलब राहत कोषमा दिने घोषणा गरेका छन्।

मोडल तथा व्यवसायी दीपा सिंखडाले आफ्नो व्यवसायमा रहेको करिब ५० लाख रुपैयाँ मूल्यको कपडामध्ये आधा अर्थात् करिब २५ लाख रुपैयाँ बराबरको कपडा बाढी प्रभावितलाई निःशुल्क वितरण गर्ने घोषणा गरेकी छन्।

स्वास्थ्य अवस्थाका कारण आफू प्रत्यक्ष प्रभावित क्षेत्रमा पुग्न नसक्ने भन्दै उनले आधिकारिक संस्था वा सरकारी संयन्त्रमार्फत राहत सामग्री पुर्‍याउने बताएकी छन्।

बाढीपछि कलाकारहरूले आर्थिक सहयोगसँगै जनचेतना फैलाउने कामलाई पनि प्राथमिकता दिएका छन्। अभिनेता राजेश हमालले आपत्कालीन सम्पर्क नम्बर सार्वजनिक गर्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेका थिए।

अभिनेता निखिल उप्रेतीले विपद्को सामना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्। अभिनेता प्रदीप खड्काले प्रभावितको जीवन बचाउन हरेक मिनेट महत्त्वपूर्ण रहेको भन्दै उद्धार तथा राहतमा तत्काल सक्रिय हुन अपिल गरेका छन्।

दीपकराज गिरी, दीपाश्री निरौला, करिश्मा मानन्धर, रेखा थापा, प्रियंका कार्की, केकी अधिकारीलगायत कलाकर्मीले पनि विपद्को समयमा एकताबद्ध भएर प्रभावितको सहयोगमा जुट्न आग्रह गरेका छन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पनि भोटेकोसी बाढी प्रभावितका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानको आकस्मिक बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका अध्यक्ष रीता थापामगर र महासचिव शिव हमालले संयुक्त विज्ञप्तिमार्फत सहयोगको जानकारी दिएका छन्।

विपद्को घडीमा कला क्षेत्रबाट आएको यो सक्रियताले उद्धार, राहत र पुनर्स्थापनाको अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भोटेकोशी बाढी अपडेट : मृतकको संख्या २७० पुग्यो

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या २७० पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट हालसम्म २७० जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव भेटिएको छ ।

त्यस्तै, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ।

बाढीपीडितका लागि टेलिकमले थप्यो ३ दिन निःशुल्क सेवा

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि नेपाल टेलिकमले दिँदै आएको निःशुल्क सञ्चार सुविधा थप तीन दिन लम्ब्याएको छ।

टेलिकमले बाढी प्रभावित रसुवा तथा आसपासका क्षेत्रमा भदौ १२, १३ र १४ गतेसम्म निःशुल्क सञ्चार सेवा निरन्तरता दिने जनाएको छ।

यस अवधिमा प्रभावित सेवाग्राहीले दैनिक २ जीबी मोबाइल डाटा र ५० वटा एसएमएस निःशुल्क प्रयोग गर्न पाउनेछन्। यस्तै, भ्वाइस कलका लागि पनि कुनै शुल्क लाग्ने छैन।

भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढिरहेका बेला रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी किनारका बासिन्दालाई टेलिकमले एसएमएसमार्फत सतर्क रहन र सुरक्षित स्थानमा जानसमेत आग्रह गरिरहेको छ।

विपद्का बेला प्रभावित नागरिकलाई आफन्त, सुरक्षाकर्मी, उद्धार टोली तथा राहतकर्मीसँग सम्पर्क गर्न सहज होस् भनेर निःशुल्क सञ्चार सुविधा थप गरिएको टेलिकमले जनाएको छ।

बाढीबाट टेलिकमका केही संरचनामा क्षति पुगे पनि सेवा प्रभावित हुन नदिन प्राविधिक टोली परिचालन गरिएको छ।

प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार टोलीले क्षतिग्रस्त संरचनाको मर्मत तथा सेवा नियमित बनाउने कामलाई निरन्तरता दिइरहेको छ।

नुवाकोटमा बाढीको वितण्डा, १५ सय परिवार विस्थापित

नुवाकोट। भोटेकोशीमा आएको भीषण बाढीले नुवाकोटका नदी किनारका बस्ती र महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। त्रिशूली नदीको बहावले घर, बजार, सडक तथा जलविद्युत् आयोजनाका संरचना बगाएपछि प्रभावित क्षेत्रमा जनजीवन अस्तव्यस्त बनेको छ।

त्रिशूली, ढुंगेबजार र देवीघाट आसपासका बस्तीमा बाढीले ठूलो क्षति गरेको छ। कतिपय घरका संरचना बाँकी रहे पनि जग कटानमा परेकाले जोखिमपूर्ण अवस्थामा छन्। कतिपय स्थानमा भने घर तथा अन्य संरचना बाढीले बगाएर बगर मात्रै बाँकी छ।

बाढीको चपेटामा जलविद्युत् आयोजनाका संरचना समेत परेका छन्। आयोजनामा क्षति पुगेपछि नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। विद्युत् सेवा बन्द हुँदा बाढी प्रभावितको दैनिक जीवन थप कष्टकर बनेको छ।

बाढीका कारण सडक तथा स्थलमार्ग अवरुद्ध भएपछि प्रभावितको उद्धारका लागि हवाई माध्यम प्रयोग गरिएको छ। विदुर नगरपालिका–४ दम्कीस्थित नेपाली सेनाको मैथली ब्यारेकलाई उद्धारको मुख्य केन्द्र बनाएर सेनाले एक दर्जनभन्दा बढी हेलिकप्टर परिचालन गरेको छ।

हेलिकप्टरमार्फत जोखिममा रहेका तथा विभिन्न स्थानमा फसेका नागरिकलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ।

बाढीका कारण नुवाकोटमा मात्रै करिब १ हजार ५०० परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिएका छन्।

घर तथा सम्पत्ति गुमाएका परिवार अहिले सुरक्षित बसोबास र राहतको पर्खाइमा छन्। प्रभावित क्षेत्रमा उद्धारसँगै राहत र पुनःस्थापनाको चुनौती पनि थपिएको छ।

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न जिम्मेवारीका लागि फोकल पर्सन तोकेको छ।

मन्त्रालयले आपत्कालीन स्वास्थ्य सेवाको समन्वय, मेडिकल टोली परिचालन, प्रदेशगत समन्वय तथा महामारीको जोखिम नियन्त्रणका लागि छुट्टाछुट्टै अधिकारीलाई जिम्मेवारी दिएको हो।

स्वास्थ्य आपतकालीन अवस्थाको समग्र समन्वयका लागि स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) प्रमुख डा. हेमन्तचन्द्र ओझालाई जिम्मेवारी दिइएको छ। आपत्कालीन मेडिकल टोली र जनशक्ति परिचालनका लागि एचईओसीसँग समन्वय गर्ने गरी डा. रोशन न्यौपानेलाई तोकिएको मन्त्रालयले जनाएको छ।

प्रदेशस्तरीय समन्वयको जिम्मेवारी स्वास्थ्य सेवा विभागका डा. फणीन्द्रप्रसाद बराल र मन्त्रालयका डा. समीरकुमार अधिकारीलाई दिइएको छ।

त्यस्तै, रसुवामा संघीय स्वास्थ्य टोली परिचालनका लागि डा. प्रकाश ज्ञवाली र शंकर कँडेल तथा नुवाकोटका लागि डा. प्रशान्त नापित र प्रवीण कार्कीलाई जिम्मेवारी तोकिएको छ।

सम्भावित महामारीको जोखिम न्यूनीकरण, निगरानी र आवश्यक प्रतिकार्यका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. अमृत पोखरेललाई फोकल पर्सन बनाइएको छ।

मन्त्रालयले विपद्का बेला सर्वसाधारण, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबीच सहयोग तथा समन्वय सहज बनाउन ‘विपद् स्वास्थ्य सहयोग समन्वय’ प्रणाली सञ्चालनमा ल्याएको छ।

यस प्रणालीमार्फत उपचार, औषधि तथा अन्य स्वास्थ्य सहयोग आवश्यक परेका व्यक्तिले अनुरोध गर्न सक्नेछन्। स्वास्थ्यकर्मीले स्वयंसेवाका लागि आफ्नो विवरण दर्ता गर्न तथा स्वास्थ्य संस्थाले मेडिकल टोली, औषधि वा उपकरण सहयोगको प्रस्ताव राख्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विपद् प्रभावित क्षेत्रमा औषधि तथा स्वास्थ्य सामग्री सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई आवश्यक सहयोग उपलब्ध गराउनसमेत आग्रह गरेको छ।

ff

बाढीपछि चीनमा फसेका नेपालीले कहाँ सम्पर्क गर्ने?

काठमाडौं । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण नेपाल–चीन सीमा क्षेत्र अवरुद्ध भएपछि चीनमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाली दूतावासले पहल थालेको छ।

बेइजिङस्थित नेपाली राजदूतावासले चीनमा अलपत्र नेपालीलाई आवश्यक समन्वय र सहजीकरणका लागि ल्हासास्थित नेपाली महावाणिज्यदूतावास वा बेइजिङस्थित नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।

ल्हासास्थित महावाणिज्यदूतावासका युवराज क्षेत्रीसँग +८६ १३५४९०६७४८१ मा सम्पर्क गर्न सकिनेछ। त्यस्तै [email protected] मा इमेल पठाउन सकिने दूतावासले जनाएको छ।

बेइजिङस्थित नेपाली दूतावासका सन्जु महर्जनसँग +८६ १८६१८१२९२१७ र राजकुमार साहसँग +८६ १८६१०३९४६८७ मा सम्पर्क गर्न सकिनेछ। दूतावासको इमेल [email protected] रहेको छ।

सीमा क्षेत्रमा बाढीका कारण आवागमन प्रभावित भएकाले चीनमा रहेका नेपाली नागरिकलाई समस्या परेमा सम्बन्धित नेपाली नियोगमा तत्काल सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।

तिब्बतमा बाढी-पहिरो : ३ जनाको मृत्यु, ५५८ बेपत्ता

काठमाडौं। चीन–नेपाल सीमा क्षेत्रमा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ। बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको बताइएको छ।

बुधबार बिहान सीमावर्ती क्षेत्रमा पहिरो खसेर भवन तथा अन्य संरचना पुरिएपछि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। उद्धारका क्रममा खोजी कुकुर र ड्रोनको समेत प्रयोग भइरहेको छ।

चिनियाँ अर्धसैनिक पिपुल्स आर्म्ड पुलिसका अधिकारी ली किपुका अनुसार भौगोलिक अवस्था र साँघुरा पहाडी सडकका कारण उद्धारमा कठिनाइ भइरहेको छ। मुख्य प्रभावित क्षेत्रमा ठूला सवारीसाधन तथा भारी उपकरण पुर्‍याउन समस्या भए पनि आसपासका सडकबाट आवश्यक सामग्री लैजाने काम भइरहेको उनले बताएका छन्।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार घटनास्थलमा करिब ८ सय उद्धारकर्मी र १५० भन्दा बढी सवारीसाधन परिचालन भएका छन्। अग्निशमन सेवाले पनि खोजी कुकुर, मानिसको उपस्थिति पत्ता लगाउने उपकरण र साना डुंगासहित ४३१ कर्मचारी परिचालन गरेको छ।

राहत तथा उद्धार सामग्री बोकेका नागरिक र सैन्य विमानसमेत प्रभावित क्षेत्रमा पुगेका छन्। रातभर वर्षा भइरहेकाले थप पहिरो र चट्टान खस्ने जोखिम कायमै रहेको अधिकारीहरूले बताएका छन्। यसले उद्धार कार्य थप जोखिमपूर्ण बन्न सक्ने जनाइएको छ।

तिब्बत स्वायत्त क्षेत्र विदेशी पत्रकारको पहुँचका हिसाबले संवेदनशील क्षेत्र मानिन्छ। त्यहाँ विदेशी पत्रकारलाई सामान्यतया चिनियाँ सरकारको समन्वयमा हुने भ्रमणमार्फत मात्र प्रवेश अनुमति दिइने व्यवस्था रहेको छ।

भोटेकोशी बाढी अपडेट : सुदूरपश्चिमका ८५ जना अझै सम्पर्कविहीन

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सुदूरपश्चिम प्रदेशका ८५ जना सम्पर्कविहीन भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा सर्वसाधारणसँगै सुरक्षाकर्मी पनि छन् ।

प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये चार जना सुरक्षाकर्मी छन् । उनीहरूमध्ये तीन जना नेपाल प्रहरी र एक जना सशस्त्र प्रहरीका रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर विष्टले जानकारी दिए ।

जिल्लागत विवरणअनुसार कञ्चनपुरका २९ जना, कैलालीका २०, डडेल्धुराका १५, बाजुराका १४, बैतडीका ४, डोटीका २ र अछामका एक जना सम्पर्कविहीन छन् ।

सम्पर्कविहीनमध्ये अधिकांश रसुवाका विभिन्न जलविद्युत् आयोजनामा काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ । केही सरकारी कर्मचारी तथा विभिन्न संघसंस्थामा कार्यरत व्यक्तिसमेत बाढीपछि परिवारको सम्पर्कमा आउन सकेका छैनन् ।

प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलाई निरन्तरता दिएको छ । सम्पर्कविहीन व्यक्तिबारे जिल्लाबाट थप विवरण संकलन गर्ने काम भइरहेकाले संख्या अझै बढ्न सक्ने एसएसपी विष्टले बताए ।

प्रदेश प्रहरीले रसुवामा रहेका सुदूरपश्चिमका नागरिकको अवस्थाबारे जानकारी जुटाउँदै उनीहरूका परिवारसँग समेत समन्वय गरिरहेको जनाएको छ ।

भोटेकोशी बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

भोटेकोशी बाढीपीडितको उद्धारमा जुट्न सुनिता डङ्गोलको आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि राज्यका सबै निकाय तथा आम नागरिकलाई एकजुट भएर अघि बढ्न आग्रह गरेकी छन्।

विपत्तिले ठूलो मानवीय क्षति पुर्‍याएको भन्दै डङ्गोलले उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई सुरक्षित स्थानमा लैजानु, विस्थापित परिवारको तत्काल व्यवस्थापन गर्नु र प्रभावितमा बढेको त्रास कम गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताएकी छन्।

उनका अनुसार विपद् व्यवस्थापन कुनै एक निकायको मात्र जिम्मेवारी नभएकाले संघ, प्रदेश र स्थानीय सरकारसँगै सुरक्षा निकाय, जनप्रतिनिधि, सामाजिक संघसंस्था, निजी क्षेत्र र सर्वसाधारणबीच प्रभावकारी सहकार्य आवश्यक छ।

डङ्गोलले संकटका बेला हरेक नागरिकले आफ्नो क्षमताअनुसार सहयोग गर्न सक्ने बताएकी छन्। उद्धारमा प्रत्यक्ष सहभागी हुनेदेखि खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराउने, यातायातको व्यवस्था मिलाउने र स्वास्थ्य सेवामा सहयोग गर्ने कामबाट पनि प्रभावितको जीवन सहज बनाउन सकिने उनको भनाइ छ।

‘विपत्तिलाई केवल समाचारका रूपमा हेरेर बस्ने समय होइन। हाम्रो सानो प्रयासले पनि कसैको जीवन जोगिन सक्छ,’ डङ्गोलले भनेकी छन्।

बाढी प्रभावित क्षेत्रका नागरिकलाई थप जोखिमबाट जोगिन सचेत रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न उनले आग्रह गरेकी छन्।

भौगोलिक दूरीले प्रभावित क्षेत्र अलग भए पनि संकटको समयमा मानवीय सम्बन्धले सबैलाई जोड्ने उल्लेख गर्दै डङ्गोलले विपत्तिमा परेका नागरिकलाई एक्लो महसुस हुन नदिन सबै नेपाली एकजुट हुनुपर्ने बताएकी छन्।

काठमाडौं महानगरपालिका प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको जनाउँदै उनले संकटको यो घडीमा जीवन जोगाउने अभियानलाई प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएकी छन्।

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विभिन्न जिल्लामा फेला परेका शवको संख्या बढ्दै जाँदा मृत्यु हुनेको संख्या १७७ पुगेको छ।

नेपाल प्रहरीले दिएको पछिल्लो विवरणअनुसार बाढी प्रभावित नदी तटीय क्षेत्रबाट शव भेटिने क्रम अझै रोकिएको छैन। मृतकमध्ये ४१ महिला, ६९ पुरुष, १० बालिका र ७ बालक छन्। थप ५० शवको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

बाढीको असर रसुवाबाट सुरु भएर नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासी पूर्वसम्म पुगेको छ।

प्रहरीका अनुसार रसुवामा दुई पुरुषको शव भेटिएको छ। नुवाकोटमा चार महिला, ६ पुरुष र पहिचान नखुलेका दुई जनाको शव फेला परेको छ।

धादिङमा नौ महिला, ११ पुरुष, एक बालिका तथा पहिचान खुल्न नसकेका ६ जनाको शव भेटिएको छ। गोरखामा दुई महिला, १० पुरुष, एक बालक र पहिचान नखुलेका सात जनाको मृत्यु भएको पुष्टि भएको छ।

चितवनमा सबैभन्दा धेरै ६९ जनाको शव फेला परेको छ। त्यहाँ १५ महिला, १९ पुरुष, दुई बालिका, चार बालक र पहिचान खुल्न नसकेका २९ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

त्यस्तै, तनहुँमा एक महिला, ६ पुरुष, एक बालिका र एक बालक तथा नवलपरासी पूर्वमा ६ महिला, १५ पुरुष, चार बालिका, एक बालक र पहिचान नखुलेका ६ जनाको शव फेला परेको छ।

बाढीपछि अझै पनि विभिन्न स्थानमा बेपत्ता रहेकाहरूको खोजी जारी छ। क्षतिको थप विवरण संकलनसँगै शवको पहिचान गर्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ।

बाढीले बिजुली बन्द भएपछि रसुवामा ५०० सोलार पावर बैंक पठाइँदै

काठमाडौं। भोटेकोशी बाढीले विद्युत् संरचनामा ठूलो क्षति पुर्‍याएपछि रसुवासहितका प्रभावित क्षेत्रमा तत्कालका लागि वैकल्पिक ऊर्जाको व्यवस्था गर्न थालिएको छ।

बाढीका कारण १२ वटा जलविद्युत् आयोजनामा क्षति पुगेपछि ४३१.१ मेगावाट विद्युत् उत्पादन बन्द भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। विद्युत् पूर्वाधारमा भएको क्षतिका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा नियमित विद्युत् आपूर्ति प्रभावित भएको हो।

तत्कालै विद्युत् लाइन जोड्न कठिन भएपछि ऊर्जा मन्त्रालयले वैकल्पिक रूपमा ५०० वटा सोलार पावर बैंक प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ। ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा ती पावर बैंक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्लाई हस्तान्तरण गर्न लागेको हो।

ऊर्जामन्त्री विराज भक्त श्रेष्ठका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनका अनुसार रसुवाको सबस्टेसनमा ठूलो क्षति पुगेकाले तत्काल विद्युत् आपूर्ति नियमित गर्न सम्भव छैन। त्यसैले बत्ती बाल्न र मोबाइल चार्ज गर्न सकिने सोलार पावर बैंक प्रभावित नागरिकसम्म पुर्‍याउन लागिएको हो।

बाढीका कारण त्रिशूलीस्थित २२० केभीको ३बी हब सबस्टेसनमा पूर्ण क्षति पुगेको छ। त्यस्तै, ६ वटा प्रसारण लाइनसमेत अवरुद्ध छन्। जलविद्युत् आयोजना र प्रसारण संरचनामा भएको क्षतिले मुलुकको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत बराबर उत्पादन प्रभावित भएको मन्त्रालयले जनाएको छ।

विद्युत् आपूर्ति व्यवस्थापनबारे जानकारी लिन ऊर्जामन्त्री श्रेष्ठले स्युचाटारस्थित राष्ट्रिय विद्युत् प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) को निरीक्षण गर्ने भएका छन्। बाढीले देशको विद्युत् प्रणालीमा पारेको असर र आपूर्ति पुनःस्थापनाको अवस्थाबारे उनले जानकारी लिनेछन्।

यता, प्रभावित क्षेत्रमा विद्युत् सेवा फर्काउन वैकल्पिक प्रसारण संरचना सञ्चालनको काम पनि अघि बढाइएको छ। सिन्धुपाल्चोकको समुद्रटारस्थित चौघोडा सबस्टेसन सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ भने गुजुरीदेखि गल्छीसम्म धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति गर्ने तयारी गरिएको छ।

सम्भव भएका अन्य क्षेत्रमा प्राविधिक टोली परिचालन गरी क्षतिग्रस्त संरचनाको निरीक्षण, मर्मत र लाइन पुनःसञ्चालनको काम भइरहेको मन्त्रालयले जनाएको छ। विद्युत् प्रणालीलाई सुरक्षित र निरन्तर सञ्चालनमा राख्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको छ।

आवश्यकता परे तत्काल प्रयोग गर्न भीमफेदीमा रहेको जेनेरेटरसमेत प्रभावित क्षेत्रमा पठाउन तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।

१२ ठाउँमा खोजी,१५०० बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं। रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीपछि खोज तथा उद्धारका लागि १ हजार ५०० भन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य बेस स्थापना गरेर दक्ष उद्धार टोली र गोताखोरसमेत खटाइएको सशस्त्र प्रहरीले जनाएको छ। टोलीले भत्किएका संरचना, जलविद्युत् आयोजना तथा अन्य जोखिमयुक्त क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी गरिरहेको छ।

उद्धारमा तालिमप्राप्त कुकुर र ६ वटा ड्रोनसमेत प्रयोग गरिएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार हालसम्म १२ स्थानमा खोजी गर्दा ९८ शव फेला परेका छन् भने ३० घाइतेसहित ७३ जनाको सकुशल उद्धार गरिएको छ।

बाढी प्रभावित घाइतेका लागि नुवाकोटमा चिकित्सकसहितको स्वास्थ्य टोली परिचालन गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। तत्काल उपचार आवश्यक पर्नेहरूका लागि नेपाल एपीएफ अस्पतालमा १०० शय्या तयारी अवस्थामा राखिएको छ।

त्यस्तै, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट १०० शय्या क्षमताको कन्टेनर प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको छ।

अन्य स्थानमा रहेका कन्टेनरसमेत प्रभावित क्षेत्रमा केन्द्रित गरेर परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

राष्ट्रिय विपत्तिमा सरकारसँग सबै दल छन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको सामना गर्न सरकारलाई सबै राजनीतिक दलको साथ रहेको बताएका छन्।

बिहीबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले विपत्तिका बेला राजनीतिक दलहरूबीचको मतभेदभन्दा नागरिकको उद्धार र राहत महत्वपूर्ण हुने बताए। नेपालमा ठूला विपत्तिका समयमा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर काम गर्ने परम्परा रहेको उनको भनाइ थियो।

उनले बाढी प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार र राहत पुर्‍याउन सरकारका संयन्त्रसँगै राजनीतिक दल, निजी क्षेत्र तथा सामाजिक संघ–संस्थालाई पनि परिचालन गर्नुपर्ने बताए।

सर्वदलीय बैठकमा गृहमन्त्रीले राजनीतिक दलका कार्यकर्तालाई समेत उद्धार तथा राहतमा खटिन आग्रह गरेको जानकारी दिँदै थापाले कांग्रेसका कार्यकर्ता सडक सफा गर्नेदेखि खोजी र उद्धारसम्मका काममा परिचालन हुन तयार रहेको बताए।

‘सरकारको आग्रहअनुसार नेपाली कांग्रेसले आफ्ना विपद् व्यवस्थापन संरचनामार्फत कार्यकर्ता परिचालन गर्छ,’ थापाले भने।

उनका अनुसार ठूलो विपत्तिमा सरकारसँग रहेका नियमित स्रोतसाधन मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्र, राजनीतिक दल र सामाजिक संस्थालाई समेत राज्यकै शक्तिका रूपमा परिचालन गर्न आवश्यक छ।

थापाले गैरसरकारी क्षेत्रबाट प्राप्त सहयोगलाई पनि समन्वयात्मक रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए। सबै सहयोग एकद्वार प्रणालीमार्फत प्रभावितसम्म पुर्‍याउने व्यवस्था प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

नेपाली कांग्रेसले बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी कोषमा आवश्यक आर्थिक सहयोग गर्ने जानकारीसमेत थापाले दिएका छन्।

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्यो, ८२६ अझै बेपत्ता

काठमाडौं । रसुवागढी क्षेत्रमा आएको भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १६५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार देशका विभिन्न जिल्लामा १६५ जनाको शव फेला परेको हो।

सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव भेटिएको छ। धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, नवलपरासी पश्चिममा ५ र रसुवामा २ जनाको मृत्यु भएको छ।

बाढीपछि ८२६ जना अझै सम्पर्कविहीन छन्। बेपत्तामध्ये ५७९ जना पर्यटक छन्। नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरीका १३ जना सुरक्षाकर्मी पनि बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार रसुवाबाट १६१ र नुवाकोटबाट एक जना सम्पर्कविहीन छन्। बाढीमा ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका तीन जना छन्।

साढे ७ हजार सुरक्षाकर्मी परिचालन

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ७ हजार ४५१ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका २ हजार ३९१ र सशस्त्र प्रहरीका १ हजार ७४२ जना उद्धारमा खटिएका छन्।

हालसम्म ३०५ जनाको हवाई उद्धार गरिएको छ। बिहान १०ः३० बजेसम्म ३७ वटा हवाई उडान भइसकेका छन् भने थप ११ हेलिकप्टर उद्धारमा परिचालित छन्। जमिनमार्गबाट पनि ६३ जनाको उद्धार गरिएको छ।

सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। राहत सामग्री बोकेका १० वटा ट्रक प्रभावित क्षेत्रतर्फ पठाइएको छ।

उद्धार र राहतलाई सहज बनाउन प्रभावित क्षेत्रमा सञ्चार उपकरणसमेत पठाइएको छ। इन्धनको अभाव हुन नदिन नुवाकोटमा डिजेल, पेट्रोल र हवाई इन्धनको थप व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार विवरण जिल्ला प्रशासन कार्यालय तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त सूचनाका आधारमा तयार गरिएको हो।

काठमाडौं महानगरको बजेट खर्च ५८.५५ प्रतिशत

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा कुल बजेटको ५८.५५ प्रतिशत खर्च गरेको छ।

महानगरले २५ अर्ब २६ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरेकामा १४ अर्ब ७९ करोड २० लाख रुपैयाँ खर्च भएको हो। केन्द्रीय विभागको औसत खर्च ३८.३४ प्रतिशत रहँदा ३२ वटै वडाको औसत खर्च ६३.९१ प्रतिशत पुगेको छ।

कुल खर्चमध्ये चालुतर्फ ७३.७१ प्रतिशत र पुँजीगततर्फ ४९.०८ प्रतिशत खर्च भएको छ। अघिल्लो आर्थिक वर्षमा ५०.२९ प्रतिशत बजेट खर्च भएकोमा यस वर्ष करिब ८ प्रतिशतले सुधार भएको महानगरले जनाएको छ।

महानगरको आन्तरिक राजस्व संकलन पनि ६७.७८ प्रतिशत पुगेको छ। १० अर्ब १२ करोड ६४ लाख रुपैयाँ लक्ष्य रहेकामा ६ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ संकलन भएको हो।

क्षेत्रगत रूपमा पूर्वाधार विकासमा ५९.९५ प्रतिशत, सामाजिक विकासमा ५५.८ प्रतिशत, आर्थिक विकासमा ३०.९४ प्रतिशत तथा सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा ३१.४३ प्रतिशत वित्तीय प्रगति भएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ भने ९०.८८ प्रतिशत खर्च भएको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी दिनमा नागरिकले प्रत्यक्ष महसुस गर्ने कामलाई प्राथमिकता दिनुपर्ने बताइन्। प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले वित्तीय प्रगति सुधार भए पनि राजधानी महानगरका लागि अझ प्रभावकारी काम आवश्यक रहेको बताए।

सर्वदलीय बैठक : १० बुँदे सुझावसहित उद्धारमा एकजुट हुन दलहरूको जोड

काठमाडौं। रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले विपद् व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिएको छ।

बिहिवार बसेको बैठकमा प्रमुख राजनीतिक दलका नेताहरूले तत्काल उद्धार, राहत र पुनःस्थापनासँगै दीर्घकालीन विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली, जलवायु परिवर्तन र अन्तरदेशीय सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका छन्।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्सम्बन्धी विषय केही दिनपछि ओझेलमा पर्न सक्ने भन्दै यसलाई दीर्घकालीन रूपमा राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताए। जलवायु परिवर्तन, हिमताल विस्फोट तथा हिमाली क्षेत्रमा बढ्दो विपद्को जोखिमलाई नेपालले पर्याप्त गम्भीरताका साथ लिन नसकेको उनको भनाइ थियो।

थापाले विपद्का बेला राहत तथा सहयोग जुटाउन राजनीतिक दललाई आफ्ना प्रभावकारी संयन्त्रमार्फत सहयोग रकम संकलन गर्न अनुमति दिनुपर्ने प्रस्ताव पनि राखे।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को समयमा सबै राजनीतिक दल एकजुट रहेको सन्देश जनतामाझ पुर्‍याउनुपर्ने बताए। उनले सरकारको उद्धार तथा राहत प्रयासमा पूर्ण साथ रहने जनाउँदै जलवायु न्यायका विषयमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सशक्त आवाज उठाउनुपर्ने धारणा राखे। पूर्वसूचना प्रणालीलाई विश्वसनीय र समयमै सूचना प्रवाह गर्न सक्ने बनाउनुपर्नेमा पनि उनले जोड दिए।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपद् व्यवस्थापनमा सरकार अझ जिम्मेवार र प्रभावकारी बन्नुपर्ने बताए। बेपत्ता तथा मृत्यु भएकाहरूको पहिचान र शव खोजीका लागि विशेष कार्यदल गठन गर्नुपर्ने, उद्धारलाई तीव्र र समन्वित बनाउनुपर्ने तथा खानेपानी, विद्युत् र अन्य जनजीवनसँग जोडिएका पूर्वाधार तत्काल पुनःस्थापना गर्नुपर्ने उनको भनाइ थियो।

पोखरेलले पूर्वसूचना प्रणाली प्रभावकारी रूपमा काम गर्न नसकेको विषयमा गम्भीर समीक्षा र अनुसन्धान आवश्यक रहेको बताए। नेपालले अन्य देशसँग विपद्सम्बन्धी सूचना आदान–प्रदान तथा समन्वयको प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने र स्वयंसेवक परिचालनका लागि सरकारले औपचारिक आह्वान गर्नुपर्ने धारणा पनि उनले राखे।

राजेन्द्र लिङ्देनले उद्धार र प्रतिकार्यमा हुने राजनीतिकरण तत्काल अन्त्य गर्नुपर्ने बताए। राहत, उद्धार तथा सहयोग संकलनदेखि वितरणसम्म एकद्वार प्रणाली लागू गर्नुपर्ने र विस्थापित नागरिकको अस्थायी पुनःस्थापना तथा पुनर्वासको काम तत्काल सुरु गर्नुपर्ने उनको सुझाव थियो।

चीनबाट प्राप्त पूर्वसूचनासमेत अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको भन्दै लिङ्देनले नेपाल, चीन र भारतबीच विपद् पूर्वतयारी तथा सूचना आदान–प्रदानका लागि त्रिपक्षीय संयन्त्र बनाउनुपर्ने बताए।

जसपा नेपालका नेता महन्थ ठाकुर र उपेन्द्र यादवले विपद्को कठिन अवस्थामा सरकारलाई आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए। जनमत पार्टीका चन्दन सिंहले नागढुंगा क्षेत्रमा देखिएको ट्राफिक तथा आवागमनको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिए।

गृहमन्त्री सुदन गुरुङले सुरुङ तथा अन्य संवेदनशील क्षेत्रमा उद्धार र सुरक्षाका लागि सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए। पूर्वाधारमा ठूलो क्षति पुगेकाले त्यसको यकिन विवरण संकलन गर्न चुनौती भइरहेको भन्दै उनले मानवीय क्षति र बेपत्ता व्यक्तिको विवरण पहिचानका लागि विभिन्न संयन्त्र परिचालन गरिएको बताए।

गुरुङले हिमताल तथा हिमाली क्षेत्रबाट भविष्यमा आउन सक्ने जोखिमको अध्ययन, अनुसन्धान र पूर्वानुमानका लागि विशेष टोली गठन गर्नुपर्ने आवश्यकता औँल्याए। सञ्चार तथा आवागमन पुनःस्थापनाका लागि समेत विशेष टोली परिचालन गरिएको उनले जानकारी दिए।

अर्थमन्त्री स्वर्णिम वाग्लेले रसुवागढी भन्सार क्षेत्रमा १५ जना बेपत्ता रहेको जानकारी बैठकमा गराएका थिए। उनका अनुसार करिब ७०० मेगावाट क्षमताका विद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ।

वाग्लेले विपद् प्रभावित नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको जानकारी दिए। विश्व बैंकबाट १७ करोड अमेरिकी डलर बराबरको सहयोग तथा बीमा सहायता, अमेरिकाबाट ५ लाख डलर र एसियाली विकास बैंक (एडीबी) बाट ५ लाख डलर बराबरको सहयोग उपलब्ध हुने उनले बताए। भारत र चीनले पनि राहत सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी उनले दिए।

प्रभावित क्षेत्र तथा अर्थतन्त्रको पुनःस्थापनाका लागि तत्काल आर्थिक प्याकेज ल्याउने तयारी भइरहेको र चीनसँगको व्यापार तथा आवागमन सहज बनाउन वैकल्पिक सीमा नाका सञ्चालनमा ल्याउने तयारीसमेत भइरहेको वाग्लेले बताए।

बैठकमा रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय विपद्को गम्भीरतालाई आत्मसात् गर्दै जिम्मेवारीपूर्वक प्रस्तुत भएकोमा सबै राजनीतिक दलप्रति धन्यवाद व्यक्त गरे। उनले विपद्सँग प्रभावकारी रूपमा जुध्न सबै दलको साझा धारणा र प्रतिबद्धता समेटिएको संयुक्त वक्तव्य जारी गरिने जानकारी दिए।

बैठकले तत्काल उद्धार, राहत र पुनःस्थापनासँगै भविष्यमा यस्ता विपद्को जोखिम न्यूनीकरणका लागि राज्यको पूर्वतयारी र अन्तरदेशीय समन्वयलाई बलियो बनाउनुपर्ने साझा निष्कर्ष निकालेको छ।

रसुवा बाढीपीडितका लागि भारतबाट थप ३७.५ टन राहत सामग्री आउँदै

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि भारतले थप राहत सामग्री पठाएको छ। भारत सरकारले मानवीय सहायता, विपद् राहत सामग्री, औषधि र खाद्यान्नसहित ३७.५ टन सामग्री बोकेको दोस्रो विमान नेपालका लागि पठाएको हो।

भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत राहत सामग्री बोकेको विमान काठमाडौंका लागि उडिसकेको जानकारी दिएका छन्।

उनका अनुसार भारत नेपालका सम्बन्धित अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेर राहत तथा उद्धार प्रयासमा सहकार्य गरिरहेको छ। बाढीबाट प्रभावित नेपाली नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन भारतले आफ्नो तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

जयशङ्करले विपद्मा ज्यान गुमाउनेका परिवार तथा प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन्।

यसअघि भारतले १० टन राहत सामग्री नेपाल पठाइसकेको थियो। उक्त सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’लाई हस्तान्तरण गरेका थिए।

रसुवाको भोटेकोशीबाट सुरु भएको बाढीले रसुवासहित नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। विपद्पछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै तत्कालीन राहत वितरणको काम जारी छ।

चीनले भन्यो- भूकम्पपछि हिमपहिरो, अनि आयो भोटेकोशीमा विनाशकारी बाढी

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढी र पहिरोबारे चीनले प्रारम्भिक कारण सार्वजनिक गरेको छ।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङका अनुसार विपद्को दिन बिहान नेपालतर्फ गएको भूकम्पपछि हिमपहिरो र त्यसलगत्तै लेदोसहितको बाढी आएको प्रारम्भिक जानकारी चीनले पाएको छ।

एक अन्तर्वार्तामा राजदूत चाङले भूकम्पपछि सिर्जना भएको प्राकृतिक घटनाले नेपाल–चीन सीमाको केरुङ–रसुवागढी क्षेत्रसहित दुवैतर्फ ठूलो क्षति पुर्‍याएको बताए।

उनका अनुसार घटनामा मानवीय क्षति हुनुका साथै ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन्। विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले चीन सरकार र चिनियाँ जनताका तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना प्रकट गरे।

विपद्को खबर पाएलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन निर्देशन दिएको राजदूत चाङले बताए।

उनले बेपत्ता नागरिकको खोजी, जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सार्ने तथा घाइतेको तत्काल उपचारमा जोड दिएका छन्। मानवीय क्षति थप हुन नदिन सबै सम्भावित स्रोत परिचालन गर्न राष्ट्रपतिको निर्देशन रहेको राजदूतले जानकारी दिए।

विपद् लगत्तै काठमाडौंस्थित चिनियाँ दूतावासले समेत आपत्कालीन संयन्त्र सक्रिय पारेको छ। प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा उद्धार कार्यमा समन्वय गर्न दूतावासले कार्यदलसमेत परिचालन गरेको उनले बताए।

सीमाको चीनतर्फ पनि बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको अवस्थामा नेपालका लागि आवश्यक आपत्कालीन राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको राजदूत चाङले बताए।

विपद् व्यवस्थापनको अवस्था बुझ्न चीनको राज्य परिषद्का उपप्रधानमन्त्री चाङ गोछिङले तिब्बत पुगेर उद्धार कार्यको स्थलगत मार्गदर्शन गरेको राजदूतले जानकारी दिए।

चीनका परराष्ट्र, जलस्रोत, मौसम विज्ञान तथा आपत्कालीन व्यवस्थापनसम्बन्धी निकाय र तिब्बत स्वायत्त क्षेत्रका अधिकारीहरूले नेपाली अधिकारीसँग समन्वय गरेर उद्धार तथा क्षतिको मूल्याङ्कन अघि बढाइरहेका छन्।

राजदूत चाङले विपद् तत्कालको उद्धारमा मात्र सीमित नराखी भविष्यमा यस्ता घटना हुँदा क्षति कम गर्नेगरी नेपाल र चीनबीच सहकार्य अझ बलियो बनाउनुपर्ने बताए।

उनले नेपाल–चीनबीच मुख्यतः पूर्वसूचना तथा चेतावनी प्रणाली, आपत्कालीन उद्धारमा समन्वय र जनशक्तिको क्षमता अभिवृद्धिमा सहकार्य गर्न सकिने बताए।

मौसम, जलविज्ञान र भौगर्भिक जोखिमको नियमित अनुगमन गर्दै सीमापार विपद्को सूचना समयमै आदानप्रदान गर्ने संयन्त्र बलियो बनाउनुपर्ने उनको भनाइ छ।

त्यस्तै, विपद्का बेला दुई देशका उद्धार निकायबीच तत्काल समन्वय हुने प्रणाली विकास गर्नुपर्ने र प्राविधिक जनशक्तिलाई तालिम तथा आवश्यक उपकरण उपलब्ध गराएर स्थानीय तहको विपद् सामना गर्ने क्षमता बढाउनुपर्ने उनले बताए।

संकटको यो घडीमा नेपाल सरकार र नेपाली जनताले देखाएको धैर्य तथा उद्धार प्रयासको प्रशंसा गर्दै राजदूत चाङले हिमाल र नदीले जोडिएका छिमेकीका रूपमा नेपाललाई आवश्यक सहयोग गर्न चीन तयार रहेको प्रतिबद्धता दोहोर्‍याएका छन्।

‘आई विल अलवेज लभ यू’ भन्ने ‘डोली’ रहिनन्

काठमाडौं । अमेरिकी कन्ट्री संगीतकी चर्चित गायिका, गीतकार, अभिनेत्री तथा समाजसेवी डोली पार्टनको ८० वर्षको उमेरमा निधन भएको छ।

मंगलबार अगस्ट २५ मा टेनेसीको नासभिलमा उनको निधन भएको परिवार तथा प्रतिनिधिले पुष्टि गरेका हुन्।

क्यान्सरसँग संघर्ष गरिरहेकी पार्टनको नासभिलस्थित भ्यान्डरबिल्ट–इन्ग्राम क्यान्सर सेन्टरमा उपचारका क्रममा निधन भएको बताइएको छ। उनको निधनसँगै करिब छ दशक लामो सांगीतिक यात्रा टुंगिएको छ।

‘जोलिन’, ‘आई विल अलवेज लभ यू’ र ‘९ टु ५’ जस्ता गीतबाट विश्वभर चर्चित पार्टन गायिकामा मात्र सीमित थिइनन्। उनी गीतकार, अभिनेत्री, व्यवसायी र समाजसेवीका रूपमा पनि परिचित थिइन्।

सन् १९४६ मा टेनेसीमा जन्मिएकी पार्टनले आर्थिक अभावबीच बाल्यकाल बिताएकी थिइन्। संगीतको सहारामा अघि बढेकी उनले प्रतिभा र निरन्तर संघर्षबाट विश्व संगीतमा छुट्टै स्थान बनाइन्।

उनले करिब तीन हजार गीत लेखेको बताइन्छ। उनका गीतका १० करोडभन्दा बढी रेकर्ड बिक्री भएका छन्। संगीतमा योगदानका लागि उनले ११ ग्रामी अवार्डसहित ग्रामी लाइफटाइम अचिभमेन्ट अवार्डसमेत पाएकी थिइन्।

उनका गीतमा प्रेम, विछोड, गरिबी र संघर्षसँगै सामान्य मानिसको जीवन भेटिन्थ्यो। त्यसैले उनका सिर्जना मनोरञ्जनमा मात्र सीमित रहेनन्, धेरैका जीवनसँग जोडिए।

‘आई विल अलवेज लभ यू’ उनको सबैभन्दा चर्चित गीतमध्ये एक हो। ‘जोलिन’ले सम्बन्धमा आउने असुरक्षा र ‘९ टु ५’ले कामकाजी जीवनका संघर्षलाई आवाज दिएको थियो।

संगीतसँगै पार्टनले चलचित्रमा पनि प्रभाव जमाइन्। ‘९ टु ५’ लगायतका चलचित्रमा उनको अभिनयले उनलाई गायिका मात्र नभई सफल अभिनेत्रीका रूपमा समेत स्थापित गर्‍यो।

समाजसेवामा पनि उनको योगदान उल्लेखनीय थियो। बालबालिकामा पढ्ने बानी विकास गर्ने उद्देश्यले उनले सुरु गरेको ‘इम्याजिनेसन लाइब्रेरी’ अभियानमार्फत विभिन्न देशका बालबालिकालाई पुस्तक उपलब्ध गराइँदै आएको छ।

कोभिड–१९ महामारीका बेला खोप विकाससम्बन्धी अनुसन्धानका लागि उनले १० लाख अमेरिकी डलर सहयोग गरेकी थिइन्। आफ्नो लोकप्रियता र सम्पत्तिलाई सामाजिक काममा प्रयोग गर्ने उनको शैलीले उनलाई प्रशंसकमाझ अझ प्रिय बनायो।

उनको निधनपछि संगीत, चलचित्र, राजनीति र मनोरञ्जन क्षेत्रका व्यक्तिहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। उनको जन्मभूमि टेनेसीमा पनि शोक छाएको छ।

अब डोली पार्टनको नयाँ गीत आउने छैन, नयाँ प्रस्तुति हेर्न पाइने छैन। तर ‘जोलिन’, ‘९ टु ५’ र ‘आई विल अलवेज लभ यू’ बजिरहँदा उनको आवाज फेरि-फेरि सुनिनेछ।

बिकज दिस वर्ल्ड विल अलवेज लभ हर।

भोटेकोशी बाढीमा सेनाको रेस्क्यु, १२५ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि जोखिममा परेकाको उद्धारका लागि नेपाली सेना दिनरात खटिएको छ। सडक सम्पर्क टुटेका र स्थलमार्गबाट पुग्न कठिन बनेका क्षेत्रमा सेनाले हेलिकप्टरमार्फत उद्धार गरिरहेको हो।

सेनाका अनुसार बिहीबार बिहानदेखि टिमुरे र मैलुङ क्षेत्रबाट २० विदेशी नागरिकसहित १२५ जनालाई हवाई उद्धार गरेर सुरक्षित स्थानमा ल्याइएको छ।

बाढीपछि प्रभावित क्षेत्रमा अझै जोखिम कायमै रहेकाले उद्धार आवश्यक भएका नागरिकको पहिचान गरी हवाई तथा जमिनबाट उद्धार गर्ने काम जारी रहेको सेनाले जनाएको छ।

उद्धारसँगै घाइतेको उपचारलाई पनि प्राथमिकता दिइएको छ। त्रिशूलीस्थित नेपाली सेनाको विशेषज्ञ चिकित्सकसहितको आपत्कालीन उपचार केन्द्रमा ६४ जना घाइतेलाई स्वास्थ्य सेवा दिइएको सेनाले जनाएको छ।

सेनाले प्रभावित क्षेत्रमा उद्धार मात्रै होइन, तत्कालीन उपचार र राहत वितरणको कामसमेत सँगसँगै अघि बढाएको छ। घाइते तथा जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार स्थलमार्ग र हेलिकप्टरबाट उद्धार गर्ने तथा प्रभावितसम्म राहत सामग्री पुर्‍याउने काम भइरहेको सेनाको भनाइ छ।

भोटेकोशीको बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा सडक तथा पुलमा क्षति पुर्‍याएपछि कतिपय स्थानमा स्थलमार्गबाट उद्धार गर्न कठिन भएको छ। यस्तो अवस्थामा सेनाको हवाई उद्धार प्रभावित नागरिकका लागि तत्काल सुरक्षित ठाउँमा पुग्ने प्रमुख माध्यम बनेको छ।

विपत्तिमा राजनीति होइन, उद्धार र राहतमा एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीले देशलाई शोकमा डुबाएका बेला पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीति थाती राखेर राष्ट्रिय एकताका साथ विपद्को सामना गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा प्रचण्डले अहिले दलबीचको मतभेद खोज्ने समय नभएको बताए। विपत्तिमा परेका नागरिकको ज्यान जोगाउने, बेपत्ताको खोजी गर्ने र पीडितलाई राहत पुर्‍याउने काममा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।

‘अहिले देश गम्भीर प्राकृतिक विपत्तिसँग जुधिरहेको छ। यस्तो अवस्थामा लामो राजनीतिक बहस र पूर्वाग्रहमा अल्झिने समय होइन। सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएर जनताको जीवन रक्षामा लाग्नुपर्छ,’ प्रचण्डले भने।

उनले विपत्तिमा परेका नागरिकले राज्य आफूहरूसँगै रहेको अनुभूति गर्न सक्ने गरी उद्धार र राहतको काम अघि बढाउनुपर्ने बताए। कुनै पनि नागरिकले संकटका बेला आफू एक्लिएको महसुस गर्न नहुने उनको भनाइ थियो।

प्रचण्डले तत्काल उद्धारमा जोड दिँदै अबका दिनमा विपद् सामना गर्ने राज्यको तयारीसमेत पुनर्विचार गर्नुपर्ने बताए। हिमाली क्षेत्रमा देखिएका पछिल्ला प्राकृतिक विपत्ति सामान्य मौसमी घटनामा मात्र सीमित नरहेको भन्दै उनले जलवायु परिवर्तन र वातावरणीय जोखिमलाई समेत गम्भीर रूपमा लिनुपर्ने बताए।

भोटेकोशीमा आएको बाढीको प्रसङ्ग जोड्दै प्रचण्डले छिमेकी मुलुकसँग विपद्सम्बन्धी सूचना आदान–प्रदानको संयन्त्र प्रभावकारी बनाउनुपर्ने बताए।

हिमताल विस्फोट, बाढी र पहिरोजस्ता घटनाबारे सम्भावित जोखिमको सूचना समयमै प्राप्त भए तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सकिने उनको भनाइ थियो। त्यसका लागि छिमेकी देशहरूसँगको समन्वयलाई संस्थागत बनाउनुपर्ने उनले बताए।

जलवायु परिवर्तनको असर नेपालजस्ता हिमाली मुलुकमा बढ्दै गएको उल्लेख गर्दै प्रचण्डले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा बलियो रूपमा उठाउनुपर्ने धारणा राखे।

उनले विगतका ठूला विपत्तिमा राजनीतिक दलहरूले देखाएको एकताको स्मरणसमेत गरे। कोशी बाढी, जुरे पहिरो, २०७२ सालको भूकम्प र जाजरकोट भूकम्पका बेला दलहरू एक ठाउँमा उभिएर राहत तथा उद्धारमा खटिएको भन्दै अहिले पनि त्यही राजनीतिक संस्कार आवश्यक रहेको बताए।

प्रचण्डले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतमा आफ्नो पार्टी सरकारसँग सहकार्य गर्न तयार रहेको बताए। उनले पार्टीका नेता तथा कार्यकर्तालाई सरकारी निकायसँग समन्वय गरेर प्रभावित क्षेत्रमा परिचालन हुन निर्देशन दिइसकेको जानकारी दिए।

सरकारका संयन्त्रसँगै राजनीतिक दल, नागरिक समाज र अन्य सामाजिक संस्थाको सामूहिक प्रयासबाट मात्रै ठूलो विपत्तिको सामना गर्न सकिने उनको भनाइ थियो।

‘विपत्तिमा कोही नागरिक एक्लो नहोस्, उद्धार र राहतमा कुनै ढिलाइ नहोस् र राज्यको पहुँचबाट कोही बाहिर नपरोस् भन्ने साझा सङ्कल्पका साथ हामी अघि बढ्नुपर्छ,’ प्रचण्डले भने।

तीन महिनाको शिशुसहित सरिता, नन्द दुर्गा र छोरा काव्यांश सम्पर्कविहीन

काठमाडौं। रसुवाको टिमुरेमा भोटेकोशी नदीमा आएको भीषण बाढीपछि तीन महिनाको शिशुसहित एकै परिवारका तीन जना सम्पर्कविहीन भएका छन्।

कालिकोटको खाँडाचक्र नगरपालिका–५ घर भएकी सरिता मल्ल टिमुरे स्वास्थ्य चौकीमा कार्यरत थिइन्। उनीसँग तीन महिनाका छोरा काव्यांश शाही पनि थिए। बच्चाको हेरचाहका लागि सरिताकी नन्द दुर्गा शाही पनि टिमुरे पुगेकी थिइन्।

भोटेकोशीमा बाढी आएपछि सरिता, उनका तीन महिनाका छोरा काव्यांश र नन्द दुर्गा तीनै जना सम्पर्कविहीन भएका हुन्। उनीहरूसँग अहिलेसम्म कहीँ कतैबाट सम्पर्क हुन सकेको छैन।

सरिताका श्रीमान् कमल शाही पनि बाढी प्रभावित क्षेत्रमै रहेको परिवारले जनाएको छ। उनले फोन स्वीच अफ हुनुअघि आफ्ना मामा धनसुर शाहीलाई फोन गर्दै श्रीमती, बहिनी र छोराको खोजी गरिरहेको बताएका थिए।

‘मामा, म श्रीमती, बहिनी र छोरालाई खोजिरहेको छु। अहिलेसम्म अत्तोपत्तो छैन। बिहान ९ बजेदेखि सम्पर्कविहीन छन्,’ कमलले भनेका थिए।

त्यसपछि कमलसँग पनि सम्पर्क हुन सकेको छैन। उनको फोनसमेत स्वीच अफ रहेको मामा धनसुर शाहीले बताए।

श्रीमती, बहिनी र तीन महिनाको छोरासमेत एकैपटक सम्पर्कविहीन भएपछि कमल अत्यन्तै चिन्तित छन्। यता कालिकोटमा रहेका परिवारका अन्य सदस्यहरू पनि उनीहरूको अवस्थाबारे जानकारी नपाउँदा गहिरो पीडामा छन्।

परिवारले सरिता, दुर्गा र नाबालक काव्यांशको तत्काल खोजी तथा उद्धार गरिदिन सम्बन्धित सबै निकायसँग आग्रह गरेको छ।

तीन महिनाको नाबालकसहित बेपत्ता भएका आफ्ना प्रियजन सकुशल भेटिऊन् भन्ने आशामा परिवार अहिले भगवान्सँग प्रार्थना गरिरहेको छ।

बाढीपीडितलाई राहतसँगै गम्भीर घाइतेको उद्धार, काठमाडौं ल्याउने तयारी

काठमाडौं। सरकारले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री वितरणसँगै घाइतेको उद्धार र उपचारलाई तीव्र बनाएको छ।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल आवश्यक खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराउने काम भइरहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलका अनुसार प्रभावित क्षेत्रमा तत्काल खान मिल्ने तयारी खाद्यान्न पठाइएको छ। चाउचाउ, बिस्कुटलगायतका सामग्री सम्बन्धित क्षेत्रमा पुर्‍याइसकिएको उनले जानकारी दिए।

राहत वितरणमा विशेषगरी सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइएको छ। उनीहरूका लागि आवश्यक ओछ्यान तथा अन्य बन्दोबस्तीका सामग्रीसमेत उपलब्ध गराइएको पौडेलले बताए।

यस्तै, बाढीबाट घाइते भएकाहरूको उपचारका लागि प्रभावित क्षेत्रमै स्वास्थ्यकर्मी तथा मेडिकल टोली परिचालन गरिएको छ। टोलीले घाइतेलाई प्राथमिक उपचार गर्नुका साथै आवश्यक परे थप उपचारका लागि अन्य अस्पतालमा पठाउने व्यवस्था मिलाइरहेको छ।

गम्भीर अवस्थाका घाइतेलाई हेलिकप्टरलगायतका माध्यमबाट काठमाडौं ल्याउने व्यवस्था गरिएको छ। त्यसका लागि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती (सिभिल) अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालका रूपमा तयारी अवस्थामा राखिएको छ।

विपद्मा परी मृत्यु भएकाहरूको शव व्यवस्थापनको काम पनि अघि बढिरहेको केन्द्रले जनाएको छ। पहिचान खुलेका शवको कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाउने काम भइरहेको पौडेलले बताए।

सरकारले अहिलेको अवस्थामा खोज तथा उद्धार र तत्कालीन राहतलाई मुख्य प्राथमिकता दिएर सुरक्षा निकाय तथा अन्य सरकारी संयन्त्र परिचालन गरिरहेको जनाएको छ।

प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप राहत सामग्री पठाउने तथा गम्भीर घाइतेको उद्धारलाई निरन्तरता दिने तयारी गरिएको छ।