`

सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा रु दुई हजार २ ०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५८ हजार ८०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८२५ निर्धारण भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५६ हजार ६००निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ९०५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिद–बिक्री भइरहेको छ ।

युवाको ‘स्कर्टिङ’मा भृकुटीमण्डप पुगे ओली तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भृकुटीमण्डप पुगेका छन् । आकस्मिक रूपमा आह्वान गरिएको पार्टी केन्द्रीय कमिटी बैठकका निम्ति उनी त्यहाँ गएका हुन् ।

एमालेको ११औँ महाधिवेशनअन्तर्गत आजै (मंसिर २८)देखि बन्दसत्र सुरु हुँदै छ । केन्द्रीय कमिटी बैठकपश्चात् भृकुटीमण्डपमै बन्दसत्र सुरु हुने नेताहरूले बताएका छन् ।

ओली युवाको ‘स्कर्टिङ’मा भृकुटीमण्डप पुगेका हुन् । उनको अघिपछि एमाले स्वयंसेवकका गाडी थिए । ओली पुगेसँगै बैठक सुरु भएको छ ।

केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी रहेको संस्थापननिकट स्रोतको भनाइ छ ।

केन्द्रीय कमिटीमा अध्यक्ष ओलीले भने–अरूका एजेण्डा बोकेर हिँड्ने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मआलोचनाका नाममा अरूका एजेण्डा बोकेर हिँडेको भन्दै नेताहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन् । भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले केही नेताहरूले अरूका एजेण्डा बोकेको आरोप लगाएका हुन् । ‘आत्मआलोचनाका नाममा अरूका एजेण्डा बोकेर हिँठेका छन्,’ अध्यक्ष ओलीले भने, ‘भदौ २३ र २४ गतेको आन्दोलनपछि कतिपय हाम्रै साथीहरूले तत्कालीन प्रधानमन्त्रीले अध्यक्षबाट पनि राजीनामा दिनुपर्छ भने । यो कुरा विपक्षी दलहरूले भन्न सकेका थिएनन्, मिडियाले पनि भनेको थिएन । अरूका एजेण्डा बोकेर हाम्रै साथीहरू हिँडे ।’

खिमलालले अघि सारे विधान संशोधनको प्रस्ताव
नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले विधान संशोधनको प्रस्ताव अघि सारेका छन् । उनले १०औं महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने । आवश्यक परे अझ थपेर जाऔँ भन्दै विधान संशोधनको प्रस्ताव गरेका छन् । उनको प्रस्तावमा समर्थन जनाउँदै अहिले विशाल भट्टराईले आफ्नो कुरा राखिरहेका छन् ।

 

जेन-जी फ्रन्टले झापाबाट जागरण अभियान सुरू गर्ने

काठमाडौं ।  नेपाल जेन-जी फ्रन्टले देशभर “जागरण सभा” सञ्चालन गर्ने अभियान गर्ने भएको छ ।  अभियानअन्तर्गतको पहिलो जागरण सभा आज झापाको दमकमा हुँदैछ ।

आगामी मंसिर २८ गते आइतबार झापाको दमकमा आयोजना गरिने कार्यक्रममा नेपाल जेन-जी फ्रन्ट (झापा) आयोजक र अग्रगामी झापा-५ समूह स्थानीय आयोजकका रूपमा रहनेछन् । कार्यक्रममा स्थानीय रूपमा जेन-जी आन्दोलनमा सक्रिय जेन-जी अगुवादेखि नागरिक समाजका प्रतिनिधि साथै राष्ट्रियस्तरमा जेन-जी आन्दोलनको नेतृत्वमा रहेर सक्रिय भूमिका निर्वाह गरेका युवाहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

नेपाल जेन-जी फ्रन्टका प्रदेश समन्वय समितिका सदस्य आदित्य कर्णका अनुसार नेपाल जेन-जी फ्रन्टका तर्फबाट संयोजक रक्षा बम, सदस्य यतिष ओझा र काउन्सिल अफ जेन-जीका प्रदेश नं. १ संयोजक उपार्जुन चाम्लिङ लगायतका जेन-जी अगुवाहरू उक्त कार्यक्रममा वक्ताका रूपमा रहनेछन् ।

कर्णका अनुसार यस जागरण सभाको उद्देश्य जेन-जी आन्दोलनका माग र मर्मलाई देशव्यापी रूपमा विस्तार गर्ने, नागरिकबीच संवाद गर्ने र सम्झौतापछिको कार्यान्वयनमा जनस्तरको निगरानी सुनिश्चित गर्ने रहेको छ ।

गभर्नर पौडेललाई बर्खास्त गर्न मागसहित जेनजी युनाइटेडले बुझायो ज्ञापन–पत्र

काठमाडौं । जेनजी युनाइटेडले गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ । आज (आइतबार) बिहान अर्थ मन्त्रालयमा जेनजी युनाइटेडका संयोजक जनक परियारले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालीन सरकारले पौडेललाई स्वार्थ समूहको डिजाइनमा गभर्नर नियुक्त गरेको दाबी गरिएको छ ।

त्यस्तै, सरकारले गठन गरेको सिफारिस समितिले अख्तियारीको दुरुपयोग गर्दै पौडेललाई सिफारिस गरेको भन्दै बताउँदै संयोजक परियारले पौडेललाई हटाएर ऐनअनुसार नयाँ गभर्नर नियुक्त गर्न माग गरिएको छ । ‘सरकारले २०५८ (प्रथम संशोधन २०६३) को दफा १५ को उपदफा २ को (क) (ख) र (ग) बमोजिम नेपाल सरकारबाट गठित सिफारिस समितिले उपदफा ३ बमोजिम गभर्नर नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तिय, वाणिज्य व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नामवाली नेपाल सरकार मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ भनिएको छ ।

तर, उक्त व्यवस्थाको विरुद्ध डा. विश्वनाथ पौडेललाई सिफारिस गरियो’ ज्ञापनपत्रमा उल्लेख छ । त्यस्तै पौडेलले कम्प्युटर इन्जिनियरिङमा स्नातक, एग्रिकल्चरमा स्नात्तकोत्तर गरेको र अनुभवको हिसाबले पनि पौडेलको नियुक्ति राष्ट्र बैंक ऐनको विरुद्ध भएको परियारले बताए । अर्थ मन्त्रालयमा विचौलियाको चलखेल रोक्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूको मनपरी नियन्त्रण गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुले अनाधिकृतरुपमा लिएको ब्याज ऋणीलाई फिर्ता गर्नुपर्ने, नेपाल राष्ट्र बैंकका गभर्नरलाई बर्खास्त गर्नुपर्ने, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभागलाई जिम्मेवार बनाउनुपर्ने, वैदेशिक ऋणको दुरुपयोग रोक्नुपर्नेलगायतका माग पनि युनाइटेडको छ ।

हेर्नुस् ज्ञापनपत्र

 

 

 

 

मन्त्री घिसिङले गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निरीक्षण, ठेकेदारलाई कारवाहीको चेतावनी

काठमाडौँ । कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन । माघ २०७७ मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको हालसम्म ५१ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको छ । शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन उक्त भवन १० करोड ५५ लाख (कर बाहेक) मा निर्माण गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार भवन निर्माणस्थलको अनुगमन गरी निर्माण प्रगतिका बारेमा जानकारी लिएका छन् ।

मन्त्री घिसिङले भवन निर्माण सम्पन्न हुने समय तालिकालगायतका विषयमा महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । अस्पतालजस्तो जनताको प्रत्यक्ष स्वास्थ्य जोडिएको संवेदनशील संरचना निर्माणमा ढिलाइ भएको प्रति आक्रोश व्यक्त गर्दै घिसिङले अब निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न नसकिने बताए ।

उनले तत्काल निर्माण सुरु नगरे ठेक्का तोडी निर्माण व्यवसायीलाई कारबाही गर्ने र नयाँ प्रक्रियामा जाने चेतावनी दिए । उनले एक हप्ताभित्र निर्माणले गति नलिएमा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिए । यसैगरी, प्रतिष्ठानका उपकूलपति भरत खत्रीले भवन नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या परिरहेकाले तत्काल भवन निर्माण गरिनु पर्ने र गर्न नसकेमा ठेक्का तोडी नयाँ प्रक्रियामा जानु पर्ने बताए ।

 

 

३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ पुष ९ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटक–पटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।

 

एमाले महासचिवमा चार जनाको दाबी, कसले मार्ला बाजी ?

काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा महासचिव पद पार्टीभित्र सबैभन्दा पेचिलो र चर्चित विषय बनेको छ । अध्यक्ष पदमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुने लगभग निश्चित भएसँगै त्यसको प्रत्यक्ष असर महासचिवको दौडमा देखिएको हो । दुवै समूहबाट आकांक्षीहरू अगाडि सरेपछि महासचिवमा चार नेताको दाबी खुलेरै सतहमा आएको छ ।

ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे महासचिवका सशक्त दाबेदारका रूपमा हेरिएका छन् । यसअघि महासचिवमै पोखरेलसँग पराजित भएका पाण्डे पछिल्लो समय भने उनकै नजिक देखिँदै आएका छन् । अर्थशास्त्रमा गहिरो पकड, वैचारिक प्रस्तुति र ‘डाटा क्यापिटालिज्म’ जस्ता विषयमा सार्वजनिक बहस उठाउँदै आएका पाण्डेलाई पार्टीभित्र बौद्धिक र नीतिगत नेताका रूपमा लिइन्छ । पोखरेल समूहले उनलाई अघि सार्ने तयारी गरिरहेको भए पनि औपचारिक घोषणा भने गरिसकेको छैन । अध्यक्ष ओली पक्षबाट भने वर्तमान महासचिव शंकर पोखरेलसँगै उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्बीसुब्बा गुरुङ महासचिवको दौडमा छन् । यी तीनै जनाले आकांक्षा देखाएपछि ओलीलाई सहमति बनाउने काम झन जटिल बनेको छ । पछिल्लो एक सातायता ओली महासचिवको नाममा निष्कर्षमा पुग्न नसक्दा संस्थापन पक्षभित्रै अन्योल बढेको बताइन्छ ।

शंकर पोखरेल महासचिवमै दोहोरिन चाहन्छन् । उनी लामो समयदेखि जनताको बहुदलीय जनवाद (जबज) का व्याख्याता, माक्र्सवादका अध्येता र वैचारिक विश्लेषकका रूपमा परिचित छन् । सातौँ महाधिवेशनदेखि निरन्तर ओलीको साथमा रहेका पोखरेलले कहिल्यै सार्वजनिक रूपमा ओलीको आलोचना नगरेको र नेतृत्वप्रति निष्ठावान् रहेको चर्चा हुने गरेको छ । तर महासचिव पदमै रहेर गुट निर्माणमा सक्रिय भएको, संगठन परिचालन अपेक्षाअनुसार गर्न नसकेको आरोप भने पार्टीभित्रकै नेताहरूबाट लाग्दै आएको छ । निर्वाचनमा गए यस्तो आरोप पोखरेलका लागि चुनौती बन्न सक्ने विश्लेषण पनि छ ।

प्रदीप ज्ञवाली हाल पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारीमा छन् । विचार निर्माणका हिसाबले महत्वपूर्ण मानिने यो विभागको नेतृत्व गर्दै उनी पछिल्लो डेढ वर्षमा अधिकांश जिल्लामा पुगिसकेका छन् । शालीन, सन्तुलित, लेखक तथा साहित्यकार समेत रहेका ज्ञवालीलाई उद्घाटन सत्र र पछिल्ला गतिविधिले ओलीको रोजाइ नजिक देखिएको संकेतका रूपमा हेरिएको छ । त्यस्तै, पृथ्बीसुब्बा गुरुङ जनजाति समुदायबाट उदाएका प्रभावशाली नेताका रूपमा परिचित छन् । संगठन विस्तार र व्यवस्थापनमा दख्खल राख्ने गुरुङ पछिल्लो समय ओलीको सुख–दुःखमा साथ दिँदै आएका छन् । ओलीले उनलाई संरक्षण गरिरहेको संकेत देखिए पनि गुरुङले आफ्नो महासचिव दाबी छाड्ने संकेत दिएका छैनन् ।

महासचिव पोखरेललाई नै निरन्तरता दिने कि उपमहासचिवमध्येबाट नयाँ अनुहार अघि सार्ने भन्ने विषयमै ओली अहिले पनि दोधारमा छन् । पोखरेल, ज्ञवाली र गुरुङ तीनै जना लामो समयदेखि ओलीको कोर टिममा रहँदै आएका कारण कसैलाई पनि पन्छाउन ओलीलाई सजिलो छैन । अर्कोतर्फ पोखरेल समूहबाट पाण्डे बलियो दाबेदारका रूपमा उभिँदा महासचिव पद सहमतिबाट टुंग्याउने सम्भावना कमजोर हुँदै गएको देखिन्छ । यसरी अध्यक्ष पदको प्रतिष्पर्धाले तातिएको एमालेको महाधिवेशन महासचिव पदमा चार नेताको आकांक्षाले झनै रोचक र जटिल बन्दै गएको छ । सहमतिमा नेतृत्व चयन गर्ने ओलीको चाहना पूरा हुन्छ कि महासचिवमा पनि निर्वाचनको सामना गर्नुपर्छ भन्ने प्रश्नको उत्तर महाधिवेशनको अन्तिम क्षणसम्म खुलै रहने संकेत देखिएको छ ।

 

केन्द्रीय कमिटीबाट विधान संशोधन प्रस्ताव लैजाने ओलीको तयारी, प्रतिवादको तयारीमा ईश्वर पक्ष

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटी दुवैको संख्या बढाउने गरी विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी गरेसँगै पार्टीभित्र विवाद चर्किएको छ । सचिवालय बैठकबाट अस्वीकृत भइसकेको प्रस्तावलाई केन्द्रीय कमिटीमार्फत पारित गराउन खोजिएको भन्दै वरिष्ठ नेताहरूले कडा असन्तुष्टि जनाएका छन् ।

आइतबार बिहान ९ बजेका लागि बोलाइएको केन्द्रीय कमिटीको अन्तिम बैठकमा ओलीले पदाधिकारी संख्या १५ बाट बढाएर १९ र केन्द्रीय कमिटी २५१ बाट ३०१ सदस्यीय बनाउने प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका हुन् । पार्टीका एक पदाधिकारीका अनुसार सचिवालयमा प्रस्ताव फेल भएपछि ओलीले आफ्नो पक्षमा बहुमत रहेको केन्द्रीय कमिटीबाट विधान संशोधन पारित गराउने रणनीति अपनाएका हुन् । केन्द्रीय कमिटीमा ओली पक्षधर सदस्यको संख्या दुई तिहाइभन्दा बढी रहेको बताइन्छ ।

यसअघि बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यही प्रस्ताव अघि सारेका थिए । तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले कडा प्रतिवाद गरेपछि प्रस्ताव पारित हुन सकेन । उक्त समूहका नेताहरूले विधान संशोधन गर्ने भए ७० वर्षे उमेर हद र अधिकतम दुई कार्यकालको व्यवस्था अनिवार्य गर्नुपर्ने अडान राखेका थिए । ओली पक्षकै केही नेताहरूले पनि समर्थन नगरेपछि सचिवालयबाट प्रस्ताव फेल भएको थियो ।

सचिवालय बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको आकार नबढाउने निर्णय गरिसकेको अवस्थामा अध्यक्षले केन्द्रीय कमिटीबाटै आकार बढाउन खोजेको भन्दै असन्तुष्टि थप चर्किएको छ । एमाले सचिव गोकर्ण विष्टले अध्यक्ष ओलीले यदि केन्द्रीय कमिटी बैठकमा पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने प्रस्ताव ल्याए आफूहरूले प्रतिवाद गर्ने स्पष्ट चेतावनी दिएका छन् । उनका अनुसार महाधिवेशनअघि यसरी विधानमा फेरबदल गर्नु गलत अभ्यास हो र यसले पार्टीभित्र गम्भीर सन्देश जानेछ ।

गत भदौमा सम्पन्न विधान महाधिवेशनले पार्टी संरचना सानो र चुस्त बनाउने निर्णय गरेको स्मरण गराउँदै नेताहरूले अहिले ‘नेताहरू व्यवस्थापन’ को नाममा फेरि संरचना फुलाउन खोजिएको आरोप लगाएका छन् । आकांक्षी नेताहरूको संख्या बढ्दै गएपछि अध्यक्ष ओली पदाधिकारी संख्या विस्तार गर्न बाध्य भएको चर्चा पार्टीभित्र व्यापक छ । महाधिवेशनको बन्द सत्रअघि बोलाइएको केन्द्रीय कमिटी बैठकले विधान संशोधनको प्रस्ताव पारित गर्छ कि पुनः अस्वीकृत गर्छ भन्ने विषयले एमालेको आन्तरिक शक्ति सन्तुलन र आगामी नेतृत्व संरचनामा गहिरो प्रभाव पार्ने देखिएको छ । बैठक निर्धारित समयमा सुरु नभएकाले छलफल र निर्णय झन् तनावपूर्ण हुने संकेत देखिएको छ ।

 

 

भृकुटीमण्डपमा एमाले प्रतिनिधिको चहलपहल, सुरक्षा कडाइ (तस्वीरहरु)

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनको बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने तयारीसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेतादेखि प्रतिनिधिसम्मको बाक्लो चहलपहल देखिएको छ । भक्तपुरमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आइतबार भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

पूर्व निर्धारित समयभन्दा बन्द सत्र केही ढिलाइ हुने भएको छ । पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार केही प्राविधिक तयारी तथा केन्द्रीय कमिटी बैठकका कारण बिहान ८ बजे सुरु हुने भनिएको बन्द सत्र निर्धारित समयभन्दा पछि मात्र सुरु हुनेछ । बन्द सत्रअघि बिहान ९ बजेपछि केन्द्रीय कमिटी बैठक बस्ने तय भएकाले सत्र सवा १२ बजेपछि सुरु हुने जनाइएको छ ।

सुरक्षालाई विशेष प्राथमिकता दिँदै भृकुटीमण्डप क्षेत्रलाई उच्च निगरानीमा राखिएको छ । बन्द सत्रस्थलको सुरक्षाका लागि नेपाल प्रहरीले २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । त्यसका अतिरिक्त एमालेले आफ्नै स्वयंसेवक दस्ता समेत खटाएको छ । सुरक्षा कारण भृकुटीमण्डप चौरको चारै दिशाबाट सर्वसाधारणको आवतजावत निषेध गरिएको छ भने महाधिवेशनमा सहभागी बाहेक अन्य व्यक्तिलाई भृकुटीमण्डपभित्र प्रवेशमा कडाइ गरिएको छ ।
महाधिवेशनका कारण सार्वजनिक सडक अवरुद्ध नहुने जनाइएको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार भृकुटीमण्डपमा प्रवेश गर्ने सवारी बाहेक अन्य सडकमा कुनै अवरोध छैन । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका सवारी साधन पार्किङका लागि टुँडिखेलमा व्यवस्था मिलाइएको छ ।

बन्द सत्र सुरु हुनुअघि नै भृकुटीमण्डप परिसरमा प्रतिनिधिहरूको उपस्थिति बाक्लिँदै गएको छ । देशभरबाट आएका प्रतिनिधिहरू बिहानैदेखि भृकुटीमण्डप पुगेका छन् । नेताहरूले प्रतिनिधिहरूलाई आ–आफ्ना राजनीतिक दस्तावेज, प्रचार सामग्री तथा सन्देशहरू वितरण गरिरहेका छन् । बन्द सत्रको समय सरेपछि प्रतिनिधिहरू प्रचारप्रसार र आन्तरिक छलफलमा सक्रिय देखिएका छन् ।

महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै एमालेले सोमबार महाधिवेशन समापन गर्ने तयारी गरेको छ । यस पटक अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि दाबी प्रस्तुत गरेका छन् । बन्दसत्रमा नेतृत्व चयन, नीति तथा कार्यक्रम र संगठनात्मक विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ ।

सल्लाघारीबाट एमालेको सन्देश र एमालेलाई अरु दलहरुले दिएको सन्देश

काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा सम्पन्न नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन समारोह केवल आन्तरिक कार्यक्रममा सीमित रहेन, बरु पछिल्लो जेनजी आन्दोलनपछिको नेपाली राजनीतिमा एमाले कहाँ उभिएको छ र अन्य दलहरूले एमाले तथा समग्र राजनीतिको भविष्यलाई कसरी हेरेका छन् भन्ने सन्देश दिने साझा मञ्च बन्यो ।

जेनजी आन्दोलनपछि पहिलो पटक ठूलो राजनीतिक कार्यक्रम आयोजना गरेको एमालेले हजारौं कार्यकर्ता उतारेर आफ्नो जनाधार कमजोर नभएको सन्देश दिन खोज्यो । दुई लाख कार्यकर्ता उतार्ने दाबी गरिए पनि उद्घाटनस्थलमा करिब ४० देखि ५० हजारको सहभागिता रहेको बताइन्छ । यद्यपि, आन्दोलनपछि दलहरू रक्षात्मक अवस्थामा पुगेको भनिएको बेला यति ठूलो उपस्थिति आफैंमा एमालेका लागि मनोवैज्ञानिक उपलब्धि मानियो ।

अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधनमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई केन्द्रमा राख्दै त्यसलाई ‘राज्यको मेरुदण्ड भाँच्ने षड्यन्त्र’ को संज्ञा दिए । उद्घाटन समारोहमा देखाइएको भिडिओमार्फत सिंहदरबार, संसद र सर्वोच्च अदालतमा आगजनीका दृश्य प्रस्तुत गर्दै ओलीले लोकतान्त्रिक प्रक्रिया भत्काएर शून्यता सिर्जना गर्ने गम्भीर प्रयास भएको दाबी गरे । उनका अनुसार सरकार परिवर्तन संसद वा निर्वाचनमार्फत सम्भव हुँदाहुँदै पनि अराजक बाटो रोजिनु योजनाबद्ध थियो ।

ओलीको भाषणले एमाले जेनजी आन्दोलनबाट भयभीत नभएको, बरु त्यसलाई राजनीतिक रूपमा ‘चिरेर जाने’ तयारीमा रहेको संकेत दियो । उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गरे पनि, पार्टीलाई होच्याउने वा समाप्त पार्ने चाहना बोकेर अघि नआउन चेतावनीपूर्ण अभिव्यक्ति दिए । विगतमा एमालेमाथि वृद्धवृद्धा विरोधी, मधेस विरोधी, क्रान्ति विरोधी जस्ता आरोप लागे पनि ती सबै पार गर्दै आएको स्मरण गराउँदै उनले अहिलेको ‘जेनजी विरोधी’ आरोप पनि चिर्ने दाबी गरे ।

महाधिवेशनले पार्टीभित्रको एकता पनि मुख्य सन्देशका रूपमा अघि सारेको देखियो । ओलीले ‘एघार बन्न दुई वटा एक चाहिन्छ’ भन्ने प्रतीकात्मक उदाहरण दिँदै एमालेभित्र हात मिलाउने र मन जोड्ने आवश्यकता औंल्याए । उल्लेखनीय रूपमा, उनले अन्य दल वा नेतामाथि कटाक्ष नगरी एकताको भाषामा जोड दिए । साथै, एमाले चुनावका लागि तयार रहेको सन्देश पनि महाधिवेशनबाट प्रवाहित भयो । महासचिव शंकर पोखरेलले स्वागत मन्तव्यमा संसद पुनर्स्थापनाको विषय उठाएनन् भने ओलीले निर्वाचनका लागि पार्टी तयार भए पनि तोकिएको मितिमा चुनाव नहुने दाबी गर्दै संसद पुनस्र्थापनाको संकल्पलाई प्राथमिकता दिनुपर्ने बताए। यसले एमाले पुनस्र्थापना र निर्वाचन दुवै विषयलाई सँगसँगै लैजान खोजिरहेको संकेत गर्छ ।

महाधिवेशनमा शुभकामना दिन पुगेका अन्य दलका नेताहरूले पनि आ–आफ्नो दृष्टिकोण राखे । नेपाली कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्काले कांग्रेस–एमाले सहकार्यको इतिहास स्मरण गर्दै लोकतन्त्रमाथि संकट आउँदा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए । जेनजी आन्दोलनले देखाएको असन्तोषलाई गम्भीरतापूर्वक समीक्षा गर्दै गल्ती नदोहोर्‍याउने संकल्पसहित जनतामा जानुपर्ने उनको जोड थियो । उनले नयाँ दल र जेनजी पुस्तालाई समेत लोकतान्त्रिक प्रक्रियामा समेटेर अघि बढ्ने सन्देश दिए ।

नेकपा माओवादी केन्द्रका तर्फबाट देव गुरुङले कम्युनिस्ट आन्दोलन विघटित अवस्थामा रहेको उल्लेख गर्दै फेरि एकताबद्ध हुनुको विकल्प नरहेको बताए ।संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनता गम्भीर चुनौतीमा रहेको उनको ठम्याइ थियो । यस पृष्ठभूमिमा एमाले एक्लै हिँडेर गन्तव्यमा पुग्न नसक्ने संकेत गर्दै कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र एकताको पहल आवश्यक रहेको सन्देश दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जेनजी आन्दोलन किन भयो भन्ने मूल कारणमा सबै पुराना दलले जिम्मेवारी लिनुपर्ने बताए । उनले संसद पुनस्र्थापनाभन्दा निर्वाचनमा केन्द्रित हुन एमालेको ध्यान जानुपर्ने सुझाव दिए । सुशासन, दलीयकरणको अन्त्य र समयमै निर्वाचनमार्फत लोकतन्त्रलाई ‘लिग’ मा ल्याउन एमालेले सकारात्मक भूमिका खेल्ने अपेक्षा रास्वपाको रहेको उनले स्पष्ट पारे ।

अन्य दलका नेताहरूले पनि सहकार्यका फरक–फरक सम्भावनाहरू औंल्याए । नेत्रविक्रम चन्द ‘विप्लव’ ले सबै वर्ग, समुदाय र नयाँ पुस्ताको चाहना सम्बोधन गर्दै आन्दोलन, राष्ट्रिय स्वाधीनता र नयाँ नेपाल निर्माणमा सहकार्य गर्न तयार रहेको बताए । लोसपाका महासचिव सुरेन्द्र झाले संविधान संशोधन अनिवार्य भइसकेको दाबी गर्दै यसमा एमालेले अगुवाइ गर्न सक्ने र आफूहरूको साथ रहने बताए । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जेनजी आन्दोलनका नाममा गणतन्त्रवादी शक्तिमाथि भएको प्रहारलाई स्मरण गर्दै विगतका कमजोरीहरूको गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखे ।

समग्रमा, सल्लाघारीको महाधिवेशन एमालेका लागि शक्ति प्रदर्शन मात्र रहेन, जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक तरलतामा आफूलाई अझै केन्द्रीय शक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास बन्यो । साथसाथै, अन्य दलहरूको सन्देशले पनि वर्तमान संकटबाट बाहिर निस्कन सहकार्य, आत्मसमीक्षा र लोकतान्त्रिक प्रक्रियाप्रतिको प्रतिबद्धता अपरिहार्य रहेको स्पष्ट पारेको छ ।

एनपीएल–२ : कसले के–के जिते पुरस्कार ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले उपाधिसँगै व्यक्तिगत पुरस्कारमा पनि वर्चस्व कायम गरेको छ । शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै च्याम्पियन बनेको लुम्बिनीका खेलाडीहरू प्रतियोगिताका मुख्य आकर्षण बने ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनीका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भए । उपाधि यात्रामा निर्णायक भूमिका खेलेका ट्रम्पलमनले प्रतियोगिताभर १५ विकेट लिनुका साथै उपयोगी ६५ रन समेत बनाए । उनले सर्वोत्कृष्ट खेलाडी बने बापत पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । फाइनल खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका ट्रम्पलमन नै प्लेयर अफ द म्याच घोषित भए ।

लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताका सबैभन्दा सफल खेलाडीमध्ये एक बने । उनले २७६ रन बनाउनुका साथै १० विकेट लिएर टोलीको नेतृत्व गरे । यस प्रदर्शनका आधारमा उनी उत्कृष्ट ब्याटर घोषित भए भने प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडीको उपाधि पनि उनकै नाममा रह्यो । रोहितले ओमोडा कार प्राप्त गरे भने उत्कृष्ट ब्याटरको रूपमा पल्सर बाइक समेत हात पारे ।

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर घोषित भए । उनले प्रतियोगितामा १७ विकेट लिए र यस उपलब्धिका लागि पल्सर बाइक प्राप्त गरे। उदीयमान खेलाडीको उपाधि भने लुम्बिनीका शेर मल्लले जिते । उनले पनि १७ विकेट लिँदै भविष्यका सम्भावनाशील खेलाडीका रूपमा आफूलाई स्थापित गरे र पल्सर बाइक पुरस्कार पाए ।

सुदूरपश्चिमका अविनाश बोहरा रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । १७ विकेटसहित उनी संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी समेत बने । यस्तै लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । समग्रमा एनपीएल सिजन–२ लुम्बिनी लायन्सका लागि ऐतिहासिक रह्यो । उपाधिसँगै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उदीयमान खेलाडी र अन्य महत्वपूर्ण पुरस्कारहरू जित्दै लुम्बिनीले नेपाली फ्रेन्चाइज क्रिकेटमा आफ्नो बलियो पहिचान बनाएको छ ।

रोहित पौडेलले जिते एनपीएलमा कार

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् । एनपीएलको फाइलनमा लुम्बिनीलाई उपाधि जिताउँदै उनी सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका हुन् । उनले कार पुरस्कार पाएका छन् । सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा रोहित तीन विकेट लिएका थिए ।

उनको एनपीएलमा नौ विकेट भएको छ । उनी फाइनल खेलमा १६ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले १० खेलमा दुई सय ७६ रन बनाए । उनी सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन् । उनी सर्वाधिक रन बनाउने नेपाली ब्याटर पनि हुन् । उनले मोटरसाइकल पनि पुरस्कार पाएका छन् ।

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, सुदूरपश्चिम उपविजेतामा सीमित

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । आज (शनिबार) भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि जितेको हो । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो ।

फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गर्दै च्याम्पियन बनेको हो । लुम्बिनीले च्याम्पियन बन्ने क्रममा पछिल्लो ६ खेलमा लगातार जित हात पारेको छ । पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि लगातार तीन खेलमा पराजित हुँदा कुनै समयमा लिग चरणबाटै बाहिरिने खतरामा पुगेको लुम्बिनीले त्यसपछि सानदार पुनरागमन गर्दै एनपीएलकै उपाधि जितेको हो । लुम्बिनीका ओपनार दिनेश अधिकारीले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीलाई पहिलो ओभरमै ४ छक्का प्रहार रगेपछि लुम्बिनीले २७ रन जोडेको थियो । दिनेशले विष्फोटक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४२ रन बनाए ।

पहिलो विकेटका लागि दिनेशले डार्शी सर्टसँग ४ ओभरमै ५८ रनको साझेदारी गरेका थिए । तर हेम्नत धामीले पाँचौ ओभरमा सर्ट र दिनेश दुवैलाई आउट गर्दै साझेदारी तोडेका थिए । सर्ट १४ बलमा १३ रन बनाएर पाँचौ ओभरको पहिलो बलमा बोल्ड भए । यस्तै हेमन्तले दिनेशलाई सोही ओभरको तेस्रो बलमा स्कट कुगेलेइनबाट क्याचआउट गराए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिम रोएल्सले १९.१ ओभरमा ८५ रनमै अलआउट भएको थियो । सुदूरपश्चिमले बनाएको ८५ रन एनपीएलको संयुक्त रुपमा चौथो कम स्कोर हो भने एनपीएल फाइनलको कम योगफल हो ।

लुम्बिनी कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यानले धारिलो बलिङ गरेपछि सुदूरपश्चिमको इनिङुस ध्वस्त बनेको थियो । सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । उनले एक छेउबाट विकेट जाँदा अर्को छेउ सम्हाल्दै इनिङ्स बिल्ड गरेका थिए । ५१ लब खेलेका उनले १ चौका रहार गरे । चौथो विकेटका लागि कप्तान दीपेन्द्र र इशानको २५ रनको साझेदारी गरे । कप्तान दीपेन्द्रले २० बलमा १ छक्का प्रहार गर्दै १३ रन बनाए । हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन जोडे ।

सुदूरपश्चिमको इनिङ्स धराशयी बनाउने क्रममा लुम्बिनीका कप्तान रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले सानदार बलिङ गर्दै ३–३ विकेट लिए । रोहितले ११औं ओभरमा लगातार ३ विकेट लिँदै ह्याट्रिक नै पूरा गरे । रोहितले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरी, दिपक बोहरार पुनित मेहरालाई लगातार आउट गरेका थिए । उनले ४ ओभर स्पेलमा जम्मा १२ रन खर्चिए । रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै शेरले ४ ओचरमा १८ रन खर्चेर ३ विकेट लिए । तिलक भण्डारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।

 

कांग्रेसमा वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु म हुँ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् । उनले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’ मा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नु पर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताए ।

आफूले कोभिड महामारीको समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि उनले गरे । आज प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग भएको भेटमा देशको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीले पुर्‍याएको योगदानको सधैँ कदर हुने नेता कोइरालाले बताए । ‘सयौं योद्धा र युवाको योगदानले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन आएको छ’, उनले भने, ‘पार्टीभित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ ।’

चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत श्रीवास्तव अचानक बिरामी, सेनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं । काठमाडौं नजिकैको चम्पादेवी डाँडामा हाइकिङमा गएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव शनिबार अचानक अस्वस्थ भएका छन् । हाइकिङकै क्रममा एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनको हवाई उद्धार गरिएको हो । उच्च स्रोतका अनुसार राजदूत श्रीवास्तव हाइकिङका दौरान अचेत भएपछि तत्काल उद्धारको प्रक्रिया अघि बढाइएको थियो । परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै नेपाली सेनाको हेलिकोप्टरमार्फत उनलाई सुरक्षित रूपमा काठमाडौं ल्याइएको हो ।

नेपाली सेनाले राजदूत श्रीवास्तवसहितको टोलीलाई चम्पादेवी क्षेत्रबाट उद्धार गरी अस्पतालसम्म पुर्‍याएको जनाएको छ । उद्धारपछि उनलाई थप उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल लगिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । भारतीय दूतावास स्रोतले भने राजदूत श्रीवास्तवलाई सामान्य स्वास्थ्य समस्या देखिएको र हाल उनको अवस्था स्थिर रहेको बताएको छ । दूतावासका अनुसार उनी व्यक्तिगत रूपमा हाइकिङका लागि चम्पादेवी पुगेका थिए । चम्पादेवी क्षेत्र काठमाडौं उपत्यकाको लोकप्रिय हाइकिङ गन्तव्य मानिन्छ। यद्यपि उचाइ र मौसमका कारण कहिलेकाहीँ हाइकिङका क्रममा स्वास्थ्य समस्या देखिने गरेको छ । घटनापछि राजदूतको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको सम्बन्धित निकायले जनाएको छ ।

 

 

 

उपाधि उचाल्न सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी फाइनलमा उपाधि उचाल्नका लागि सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको सहज लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ राजेको सुदूरपश्चिमले १९ ओभरमा पहिलो बलमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको हो ।

पहिलो ओभरको अन्तिम बलमा ओपनर बिनोद भण्डारी आउट भएपछि सुदूरपश्चिमको ब्याटिङ दबाबमा गएको थियो । उनी २ बल सामना गरेर रनको खाता नखोली रुबेन ट्रम्पेलम्यानको बलिङमा दिनेश अधिकारीमार्फत् आउट भए ।

सुरुवातमै विकेट गएपछि दबाबमा गएको यो टोलीको ब्याटिङले लय समात्न सकेन ।

एमालेलाई झलनाथ खनालको आग्रह : एउटै पार्टी बनाएर अघि बढौं

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशका सबै कम्युनिष्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन् । सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विशेषतः नेकपा एमालेका नेता तथा कार्यकर्तालाई लक्षित गर्दै एउटै कम्युनिष्ट पार्टी निर्माण गरेर अघि बढ्न आग्रह गरेका हुन् ।

वीरेन्द्रनगरमा शनिबार आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै खनालले मुलुकलाई समाजवादतर्फ लैजान कम्युनिष्टहरूबीचको एकता अपरिहार्य रहेको बताए । उनका अनुसार वर्गीय हित, श्रमिक र सर्वहारा वर्गको मुक्तिका लागि एउटै देशमा अनेकौं कम्युनिष्ट पार्टी रहनु उपयुक्त हुँदैन । ‘एमालेका साथीहरूका लागि पनि यही बाटो हो, अर्को विकल्प छैन’, उनले भने, ‘हामी सबै एक भएर एउटै बलियो कम्युनिस्ट पार्टी निर्माण गरौँ ।’

खनालले विगतमा विभिन्न विचार र धारहरू अपनाइए पनि अबको स्पष्ट मार्गदर्शन मार्क्सवाद–लेनिनवाद नै भएको उल्लेख गरे । उनले नेपाली विशेषताको समाजवाद नै पार्टीको मुख्य विशेषता भएको बताउँदै त्यसकै आधारमा अगाडि बढ्नुपर्ने धारणा राखे। एमालेको महाधिवेशनतर्फ संकेत गर्दै उनले त्यहाँ सहभागी नेता–कार्यकर्तालाई पनि मूल कम्युनिस्ट धारमा फर्किन आग्रह गरे ।

उनका अनुसार कम्युनिस्ट पार्टीहरू एक भएर राष्ट्रिय स्तरमै अपराजित शक्तिका रूपमा विकास हुन आवश्यक छ । टुटफुट र विभाजनको राजनीतिले लक्ष्य प्राप्त नहुने भन्दै उनले निश्चित नीति, कार्यदिशा र मापदण्डका आधारमा एकता कायम गर्नुपर्नेमा जोड दिए । सम्बोधनका क्रममा खनालले मुलुकमा विदेशी हस्तक्षेप बढ्दै गएको र यसले राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठाएको टिप्पणी पनि गरे । जनताको आधारभूत आवश्यकता—गाँस, बास र कपाससँगै शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने राज्य निर्माणका लागि समाजवाद अनिवार्य रहेको उनको भनाइ थियो। समाजवादी व्यवस्थाबाट मात्रै समतामूलक र आत्मनिर्भर नेपाल निर्माण सम्भव हुने दाबी गर्दै उनले कम्युनिष्टहरूलाई साझा लक्ष्यसहित अघि बढ्न पुनः आह्वान गरे ।

 

 

रोहित पौडेलले लिए ह्याट्रिक विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी फाइनल खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ऐतिहासिक प्रदर्शन गर्दै खेलको धार नै मोडिदिएका छन् । निर्णायक फाइनलमा सुदूरपश्चिम रोयल्स लगातार विकेट गुमाउँदै गहिरो दबाबमा परेको छ । ११ औं ओभरसम्म आइपुग्दा सुदूरपश्चिमले ६ विकेट गुमाइसकेको छ । यही ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेलले लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीसहित दीपक बोहरा र पुनित मेहरालाई शून्यमा आउट गर्दै दर्शकलाई रोमाञ्चित बनाएका हुन्।

ह्याट्रिक विकेटमध्ये सबैभन्दा महत्वपूर्ण विकेट कप्तान ऐरीको थियो । ऐरीले १ छक्का प्रहार गर्दै २० बलमा १३ रन बनाएका थिए र पारी सम्हाल्ने प्रयास गरिरहेका थिए । तर रोहितको सटीक बलिङ अगाडि उनी टिक्न सकेनन्। दीपक बोहरा र पुनित मेहराले भने खाता नै खोल्न नपाई पवेलियन फर्किनुपर्‍यो ।

रोहित पौडेलले आफ्नो ४ ओभरको स्पेलमा मात्र १२ रन खर्चिँदै तीन महत्वपूर्ण विकेट लिएका छन् । उनको कसीलो बलिङले सुदूरपश्चिमको ब्याटिङ लाइनअप पूर्ण रूपमा अस्तव्यस्त बनेको छ । यसअघि नै सुदूरपश्चिमले विनोद भण्डारी, शेल्डन ज्याक्सन र आरिफ शेखलाई क्रमशः ०, १ र ६ रनमा गुमाइसकेको थियो । लगातार विकेट पतनका कारण टोली दबाबमा परेको स्पष्ट देखिएको छ । रोहित बाहेक लुम्बिनी लायन्सका बलरहरू पनि प्रभावशाली देखिएका छन् । रुबेन ट्रम्पलम्यानले दुई विकेट लिँदा शेर मल्लले एक विकेट आफ्नो नाममा लेखाएका छन् । फाइनल खेलमा लुम्बिनी लायन्सका बलरहरूको आक्रामक प्रदर्शनले उपाधि दौड झनै रोचक बनेको छ । अब सुदूरपश्चिम रोयल्सका लागि बाँकी खेलाडीले कसरी सम्हाल्छन् भन्ने सबैको चासोको विषय बनेको छ ।

 

 

अवैध सरकारलाई समर्थन छैन, राष्ट्रिय स्वाधीनतामा अडान लिंदा एमालेले हमला भोग्दैछ : विप्लव

काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारलाई अवैध र कठपुतलीको संज्ञा दिएका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले) को ११औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको र भविष्यमा पनि नहुने स्पष्ट पारे ।

उनले देशमा न त आन्दोलनकारी सहभागी भएको सरकार रहेको न त संविधान र कानुनअनुसार चलेको सरकार नै देखिएको टिप्पणी गरे । उनका अनुसार अहिलेको सत्ता संरचना अस्वाभाविक र अवैधानिक अवस्थामा छ । यस्तो परिस्थितिमा सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर मात्रै देशलाई निर्वाचनतर्फ लैजान सकिने विकल्प रहेको उनको भनाइ थियो । महासचिव विप्लवले नेकपा एमालेमाथि भइरहेको चौतर्फी आक्रमणको कारण राष्ट्रिय स्वाधीनतामा लिएको अडान नै भएको दाबी गरे।

उनले भने, एमालेभित्र कमजोरीहरू हुन सक्लान् तर अहिले भइरहेको हमला ती कमजोरीका कारण होइन, बरु साम्राज्यवादी योजनाअन्तर्गत भएको हो भन्ने कुरा सबैले बुझ्न आवश्यक छ । यो समस्या एमालेको मात्रै नभई सम्पूर्ण कम्युनिस्ट आन्दोलन र देशकै स्वाधीनतासँग जोडिएको विषय भएको उनले बताए । महाधिवेशनमा देखिएको विशाल जनसहभागितालाई उल्लेख गर्दै विप्लवले यसले धेरै प्रश्नहरूको जवाफ दिएको बताए । उनले एमाले कहाँ छ, कस्तो अवस्थामा छ भन्ने जिज्ञासाको जवाफ आजको सभाले दिएको भन्दै यसले नेपाली जनता मात्र होइन, नेपालमाथि गिद्धे दृष्टि राख्ने शक्तिहरूलाई पनि सशक्त सन्देश दिएको बताए ।

कम्युनिष्टहरू सकिए, दलहरूले अब देशको नेतृत्व गर्न सक्दैनन् भन्ने प्रचारलाई यस सहभागिताले गलत सावित गरिदिएको उनको भनाइ थियो । विदेशी दलाल र नेपालमा विवाद भड्काएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने शक्तिहरूले कम्युनिस्ट आन्दोलनको अन्त्य भएको ठानिरहेको भए आजको महाधिवेशनको दृश्यले उनीहरूलाई गम्भीर पुनर्विचार गर्न बाध्य बनाएको उनले उल्लेख गरे । एमालेको संगठनात्मक क्षमता र जनआधारको खुलेर प्रशंसा गर्दै उनले यसलाई स्वदेशी मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा समेत ठूलो सन्देशका रूपमा चित्रण गरे ।

विप्लवले जेनजी आन्दोलनपछिको अवस्थाको चर्चा गर्दै देश राज्य नै छ कि छैन भन्ने अन्योलको अवस्थामा पुगेको बताए । यस्तो संकटपूर्ण घडीमा कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्नेमा उनले जोड दिए । उनले कम्युनिष्ट, देशभक्त र राजनीतिक शक्तिले भोगेको दुःख स्मरण गर्दै नेपाली जनताका अपेक्षा अझै पूरा नभएको, सहिदका सपना अधूरै रहेको र देशको स्वाधीनता पूर्णरूपमा स्थापित हुन बाँकी रहेको बताए । उनले जिम्मेवार राजनीतिक दलहरूलाई उपेक्षा गर्ने खेल चलिरहेको आरोप लगाउँदै त्यसले देशलाई झनै अस्थिरतातर्फ धकेलिरहेको बताए । एमालेसँग आन्दोलनमा सहकार्य गर्न र राष्ट्रिय स्वाधीनताका पक्षमा साथ दिन आफूहरू तयार रहेको संकेत गर्दै उनले यो महाधिवेशनले कम्युनिष्ट आन्दोलनको एकताको प्रस्ताव अघि सारोस् र २००६ सालको जस्तै बलियो कम्युनिष्ट पार्टी निर्माण गर्ने संकल्प गरोस् भन्ने शुभकामना व्यक्त गरे ।

 

टुँडिखेलमा किरात समुदायले मनाउने उधौली (तस्बिरहरु)

काठमाडौँ । काठमाडौंको टुँडिखेलमा किरात समुदायले परम्परागत नृत्य, वेशभूषा र सांस्कृतिक कार्यक्रमसहित साकेला उधौली पर्व मनाएका छन्।

प्रकृति, भूमिपूजा र पुर्खाप्रति कृतज्ञता व्यक्त गर्ने यो पर्व सामूहिक नाचगानमार्फत उत्साहपूर्वक मनाइन्छ। साकेला उधौली मुख्यतः किरात राई, लिम्बु, सुनुवार र याख्खा समुदायले मनाउने पर्व हो।

यो पर्व बाली भित्र्याएपछि, प्रकृतिप्रति धन्यवाद दिन, भूमिपूजा गर्न र पुर्खाको सम्मानस्वरूप मनाइन्छ। उधौलीले जाडो मौसम सुरु भई मानिसहरू तलतिर बसाइँ सर्ने समयलाई पनि संकेत गर्छ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

संविधान मरेको जस्तै अवस्थामा छ, नयाँ राष्ट्रिय सहमति अपरिहार्य : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संविधान व्यवहारिक रूपमा निष्क्रिय भइसकेको दाबी गर्दै देशलाई थप दुर्घटनातर्फ धकेल्ने गरी जबरजस्ती ब्युँताउने प्रयास नगर्न चेतावनी दिएका छन् । राजनीतिक, सामाजिक र पुस्तागत रूपमा मुलुक गम्भीर सङ्कटमा रहेको उल्लेख गर्दै उनले अब नयाँ राष्ट्रिय सहमतिको खाँचो रहेको बताए ।

काठमाडौंमा आयोजित नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले संविधानलाई लिएर समाजमा गहिरो मतभेद रहेको बताए । उनका अनुसार कसैले यही संविधानबिना देश चल्दैन भन्ने धारणा राखिरहेका छन् भने कसैले यसलाई अपूर्ण र असफल ठानिरहेका छन् । संविधानलाई धर्मग्रन्थजस्तो अपरिवर्तनीय ठान्नु गलत भएको उल्लेख गर्दै उनले समयअनुसार परिवर्तन आवश्यक हुने तर्क गरे ।

‘हामीले सधैँ भनिरहेका छौँ, संविधान गीता, बाइबल वा पुराण होइन। यसलाई आवश्यक परे परिवर्तन गर्नुपर्छ’, लिङ्देनले भने, ‘आजको अवस्थामा संविधान जिवित छैन, मरेको जस्तै भइसकेको छ । यस्तो अवस्थामा जबरजस्ती ब्युँताएर देशलाई थप दुर्घटनामा लैजानुभन्दा नयाँ समझदारी गर्नु बुद्धिमानी हुन्छ ।’ उनले अब देशको भविष्य जोगाउन राजा, राजनीतिक दलहरू र नयाँ पुस्ता अर्थात् जेन–जीबीच नयाँ सहकार्य र समझदारी आवश्यक रहेको धारणा राखे। परम्परागत शक्ति, राजनीतिक नेतृत्व र नवयुवालाई एकै ठाउँमा उभ्याएर राष्ट्रिय एकताको आधार तयार गर्न नसके मुलुक झन् जटिल संकटमा फस्ने उनको चेतावनी थियो ।

लिङ्देनले विगतका राजनीतिक परिवर्तनबाट प्राप्त तीन महत्वपूर्ण उपलब्धिलाई जोगाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । उनले २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था र २०६२÷०६३ को आन्दोलनबाट स्थापित समावेशीता र समानुपातिकताको उपलब्धिलाई राष्ट्रिय सम्पत्तिको रूपमा संरक्षण गर्नुपर्ने बताए । ‘यी उपलब्धि बचाएर मात्र अब नयाँ राष्ट्रिय सहमति सम्भव छ’, उनले स्पष्ट पारे । देश बचाउने र देश बनाउने अभियानमा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने समय आएको उल्लेख गर्दै उनले दलगत स्वार्थभन्दा माथि उठेर सोच्न आग्रह गरे । कार्यक्रममा उनले एमालेको महाधिवेशन उद्घाटन समारोह भव्य र व्यवस्थित रहेको भन्दै प्रशंसा पनि व्यक्त गरे । लिङ्देनको अभिव्यक्तिले वर्तमान राजनीतिक संरचना र संविधानबारे पुनर्विचारको बहसलाई थप चर्काउने संकेत गरेको विश्लेषण गरिएको छ ।

पुस्तान्तरण र निर्वाचनमार्फत संकट समाधान अनिवार्य : कविन्द्र बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले वर्तमान राजनीतिक अवस्थामा नेतृत्व पुस्तान्तरण अपरिहार्य भइसकेको बताएका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले) को ११औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले पुराना दलहरूले समयको माग बुझेर नेतृत्व हस्तान्तरणतर्फ अघि बढ्नुपर्ने धारणा राखे ।

उनले नेतृत्व पुस्तान्तरण अब विकल्प नभई अनिवार्य आवश्यकता बनेको उल्लेख गर्दै एमालेले पनि यो यथार्थलाई बुझेको आफूले महसुस गरेको बताए । जेन–जी आन्दोलनपछि सिर्जित राजनीतिक र सामाजिक अवस्थाले पुराना दलहरूलाई आत्मसमीक्षा र केही त्याग गर्न बाध्य बनाएको उनको भनाइ थियो । उनले एमालेसहित स्थापित दलहरूले नयाँ दलहरूबाट पनि सिक्ने मनस्थिति बनाउनुपर्ने विश्वास व्यक्त गर्दै देशको हितका लागि उदारता देखाउन आग्रह गरे ।

महामन्त्री बुर्लाकोटीले रास्वपा सभापति रवि लामिछानेविरुद्ध दायर मुद्दाप्रति पनि ध्यानाकर्षण गराए । उनले प्रमाणविनै लामिछानेलाई जेलमा राखिएको आरोप लगाउँदै यस विषयमा निष्पक्ष ढंगले सोच्न एमाले नेतृत्वलाई आग्रह गरे । सहकारी प्रकरणमा आफ्नो पार्टी सभापतिलाई प्रतिशोधका आधारमा थुनिएको दाबी गर्दै अन्य दलका नेताहरू ठूला आर्थिक आरोपका बाबजुद खुलेआम हिँडिरहेको अवस्थाप्रति प्रश्न उठाए ।

त्यसैगरी उनले आगामी निर्वाचन समयमै गरिनु नै वर्तमान राजनीतिक संकटको समाधानको मुख्य आधार भएको बताए । लामो समयदेखि निर्वाचन प्रक्रियामा सहभागी हुँदै आएको अनुभवी दल एमालेले घोषित मितिमै निर्वाचनमा भाग लिएर लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन भूमिका खेल्नुपर्ने उनको धारणा थियो । निर्वाचनमार्फत नयाँ नेतृत्वको विकल्प खोज्नु नै संविधान र लोकतन्त्रलाई सही बाटोमा ल्याउने उपाय भएको उनले बताए ।

जेन–जी आन्दोलनका क्रममा भएको भौतिक तथा सामाजिक क्षतिका विषयमा बोल्दै बुर्लाकोटीले विगत साढे तीन दशकदेखि सरकार सञ्चालनमा रहेका सबै दलहरूले जिम्मेवारी लिनुपर्ने बताए । आफूहरूको पार्टी पनि केही समय सरकारमा रहेकाले दोषको प्रतिशतका आधारमा जिम्मेवारी लिन तयार रहेको उनको भनाइ थियो । उनले असन्तुष्टि र विद्रोहको पृष्ठभूमिमा केही उक्साहट पनि देखिएको उल्लेख गर्दै त्यसको निष्पक्ष मूल्यांकन आवश्यक रहेको बताए । महामन्त्री बुर्लाकोटीले लोकतान्त्रिक मुलुकमा दलहरूको आन्तरिक लोकतन्त्र सुदृढ हुनु अनिवार्य रहेको उल्लेख गरे । साथै विदेशमा रहेका नेपाली नागरिकलाई उनीहरू बसेकै देशबाट मतदान गर्न पाउने व्यवस्था मिलाउन र देशभित्र पनि स्थायी ठेगानाबाहिर रहेका नागरिकलाई सहज रूपमा मतदान गर्न सक्ने प्रणाली विकास गर्न आग्रह गरे ।

शिक्षा क्षेत्रमा देखिएको राजनीतिक संरक्षण र हस्तक्षेप हटाउन सबै दलहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले सुधार बिना जनताको विश्वास पुनःस्थापना हुन नसक्ने धारणा व्यक्त गरे । उनले समग्रमा राजनीतिक दलहरूले आत्मालोचना, सहकार्य र सुधारको बाटो समाउन सके मात्र देशलाई वर्तमान संकटबाट बाहिर निकाल्न सकिने निष्कर्ष प्रस्तुत गरे ।

सल्लाघारीबाट ओलीको आह्वान : १ होइन ११ बनौं (पूर्णपाठ)

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशनको उद्घाटन समारोहमा पार्टीभित्र एकताको सन्देश दिँदै ‘एक’ होइन, ‘एघार’ बन्न आह्वान गरेका छन् । ‘सुरक्षित नेपालको पहिलो शर्त के हो ? हामी–हामीबीचको एकता,’ भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन समारोहमा ओलीले भने, ‘एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु ।’ उनले भने, ‘हामी एघारौं महाधिवेशनमा छौं । यसको अंक ‘एघार’ लाई एकछिन ध्यान दिएर हेरौं–एघारमा दुई वटा ‘एक’ हुन्छन्, तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका ‘एक’ होइनन् । एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका ‘एक’ हुन् ।’

‘हामी प्रत्येक एक— एमालेले अर्को एक— एमालेसँग हात मिलाउँदा, छुट्टाछुट्टै एक रहँदैनौं, एउटै ‘एघार’ बन्छौं, बलियो शक्ति बन्छौं । एक एमाले र अर्को एमाले छुट्टिए, रिसाए, एकअर्कामाथि घात–प्रतिघात गरे हामी साधारण ‘एक–एक, एक’ मात्र रहनेछौं,’ उनले भने ।
उनले यो पनि भने, ‘एउटाले अर्कोको हात समायो, मन मिलायो भने हामी ‘एक–एक एघार’ बन्छौं । हामी एघार बन्दै अघि बढ्यौं भने यो एघारौं राष्ट्रिय महाधिवेशन साँचो अर्थमा सफल हुनेछ ।’ उनले भने, ‘हामी–हामीबीचको एकता— एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु । हामी एघारौँ महाधिवेशनमा छौँ । यसको अंक एघारलाई एकछिन् ध्यान दिएर हेरौँ, एघारमा दुई वटा एक हुन्छन्, तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका एक होइनन् । एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका एक हुन् ।’
अध्यक्ष ओलीको एघारौं महाधिवेशनको उद्घाटन समारोहमा दिएको मन्तव्य :—

तपाईंहरूलाई सुन्दर नगरी भक्तपुरमा हार्दिक स्वागत गर्दछु । भक्तपुर– गौरवपूर्ण इतिहास र संस्कृति बोकेको विश्व सम्पदा, हरेक लोकतान्त्रिक आन्दोलनमा बलिदानको कीर्तिमान राखेको देशभक्त नागरिकहरूको बासस्थान, परिश्रमी र इमान्दार किसानहरूका पसिनाले सिँचित उर्वर भूमि, यस ऐतिहासिक नगरीमा तपाईँहरूको यो भव्य उपस्थिति देखेर म गौरवान्वित भएको छु । सम्झिरहेको छु, ३ महिना अगाडिका ती कहालीलाग्दा दिनहरू– जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो, जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलहरूमाथि भीषण हमला गरिएको थियो, र एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो– पुराना पार्टीहरू सकिए, नेताहरूका दिन गए। एमालेको सान्दर्भिकता समाप्त भयो ।

धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ । मंसिरको चिसो सिरेटो पञ्छाउँदै यहाँ आउनु हुने तपाईँहरू सबैलाई फेरि पनि हार्दिक स्वागत छ । नेपालका प्रत्येक वडा–वडा, टोल–टोल, हिमाल–पहाड–तराई र प्रवाससम्म छरिएको एमालेको महासागरका अगाडि यो सभामा जम्मा भएका हामी केही थोपा मात्रै हौं। तर, यिनै थोपा भित्रको साहस, भरोसा, माया, अनुशासन र उत्साहसहित उभिएको यो उपस्थिति गर्वको विषय हो ।

दाजुभाइ दिदीबहिनीहरू,

आजबाट हामी हाम्रो पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन सुरू गर्दैछौं। नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएयता हामीले ७७ वर्ष व्यतीत गरेका छौँ । ती ७७ वर्षहरू, जसमा हामीले प्रत्येक दिन देशका निम्ति खर्चेका छौँ। जनताका निम्ति सुम्पेका छौँ । देशको सार्वभौमसत्ता, राष्ट्रियता, राष्ट्रहित र स्वाभिमानका लागि हरपल अर्पेका छौँ। जनताका अधिकार, न्याय र सुख एवं समृद्धिका लागि समर्पित गरेका छौँ । नेकपा एमाले जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ हामी अघि बढिरहेका छौं । र, यो एघारौँ महाधिवेशन यस महान् अभियानरूपी यात्रामा एउटा नयाँ मोडको रूपमा भव्यताका साथ आयोजना गरिरहेका छौं। हाम्रा नीतिहरू स्पष्ट छन् । यी नीतिहरू कार्यान्वयन गर्ने सुदृढ, व्यापक र दृढ संकल्पित लोकप्रिय पार्टी र संगठन हामीसँग छ ।

म हाम्रो पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी लगायत ती सबै अग्रजहरू, शहीदहरू, योद्धाहरू र आन्दोलनमा वर्णन नै गर्न नसकिने कष्ट सहनु हुने न्यायप्रेमी जनसमुदायप्रति हार्दिक श्रद्धा अर्पण गर्न चाहन्छु, जसको बलिदान बिना हामी यहाँ आइपुग्नै सक्दैनथ्यौँ । तपाईहरूलाई साक्षी राखेर सङ्कल्प गर्छु– हामी उहाँहरूको आदर्श र बलिदानलाई कहिल्यै बिर्सने छैनौँ ।

यति लामो यात्रामा हामीले कहिल्यै गल्ती गरेनौँ या हामीबाट कमजोरी रहेन भन्ने होइन, तर हाम्रो निष्ठा, समर्पण र इमानप्रति हामीलाई गौरव छ। कम्युनिष्ट पार्टीको यही बलिदानी सङ्घर्षका बलमा आज मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको छ । सात सालको क्रान्तिमा कम्युनिष्ट पार्टी भर्खरै स्थापना भएको थियो । यसको नेतृत्वदायी भूमिका नहुँदा क्रान्ति अधुरो रह्यो । २०४६ सालमा कम्युनिष्ट पार्टी सबल र संयुक्त नेतृत्व गर्ने ठाउँमा विकसित भएको थियो, आन्दोलनले राजाको निरङ्कुशता र पञ्चायती तानाशाहीलाई अन्त्य ग¥यो ।

२०६२÷०६३ मा कम्युनिष्ट पार्टी नेतृत्वदायी भूमिकामा रह्यो, तसर्थ राजतन्त्र अन्त्य भयो, गणतन्त्र स्थापना भयो र जनताको हातले संविधान लेखियो । त्यतिबेला अरू पार्टीहरूका भूमिका तपाईँहरूको सम्झनामा ताजै छन् । त्यसैले भन्न सक्छौँ– कम्युनिष्ट पार्टी जति जति बलियो हुन्छ, त्यति त्यति लोकतन्त्रले पूर्णता पाउँछ । राष्ट्रिय स्वाभिमान सुदृढ हुन्छ । समृद्धिको यात्रा अगाडि बढ्छ । आज हामी पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा सुदृढ गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य हासिल गर्न अगाडि बढ्न चाहन्छौँ ।
कमरेडहरू, दाजुभाइ दिदीबहिनीहरू,

आठ दशकको यस गौरवशाली यात्रामा हामीले केही बिरासतहरू, केही मानकहरू, केही पहिचानहरू बनाएका छौँ। नेकपा एमाले अर्थात् राष्ट्रियताको पहरेदार, देशभक्तिपूर्ण आन्दोलनको नायक । नेकपा एमाले अर्थात् लोकतान्त्रिक आन्दोलनको अग्रपङ्क्तिको योद्धा, यसको अभेद्य किल्ला । नेकपा एमाले अर्थात् सामाजिक न्याय र सामाजिक सुरक्षाको ‘पायनियर’, जसका कारण आज ३८ लाख नागरिकहरूले जीवनमा एउटा सहारा पाउनु भएको छ ।

नेकपा एमाले अर्थात् सामाजिक सद्भाव र राष्ट्रिय एकताको संबाहक, जसले विभिन्न बहानामा समाजलाई विखण्डित गर्ने र जनतालाई विभाजित गर्ने कुचेष्टालाई असफल पार्दै आएको छ । नेकपा एमाले अर्थात् समावेशिताको अगुवा, जसले राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाइ महिला सहभागिता सहित दलित, अल्पसङ्ख्यक र पछाडि पारिएका समुदाय, क्षेत्र र वर्गलाई मूलधारमा ल्याउन अग्रणी भूमिका खेलेको छ । नेकपा एमाले अर्थात् नेपाली विशेषता सहितको समाजवाद निर्माणको अभियन्ता, जनताको बहुदलीय जनवाद जस्तो नवीनतम सोचको संवाहक र परिपूर्ण लोकतन्त्रको भाष्यकार । नेकपा एमाले अर्थात् गाउँमुखी र जनसहभागितामूलक विकासको अग्रणी, ठूला पूर्वाधार निर्माणको पहलकर्ता, भूकम्पपछिको पुनर्निर्माणको सफल अभियन्ता । नेकपा एमाले अर्थात् मानवतावाद, न्याय, संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलको सिद्धान्त र हामी पक्ष भएका अन्य अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको पालना र विश्व शान्तिमा आधारित विदेश नीति रहेको पार्टी ।

नेकपा एमाले अर्थात् असल, विश्वसनीय छिमेक सम्बन्ध र पारस्परिक हित र सम्मानका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने पार्टी । नेकपा एमाले अर्थात् समृद्धिको स्वप्नद्रष्टा र परिकल्पनाकार, जसले भन्छ– प्रकृतिको यति सुन्दर बरदान पाएको र संस्कृतिको धनी नेपाल गरिब रहनै सक्दैन, हामी आफ्नै पौरख र बलमा समृद्ध बनाइ छाड्छौँ । आजको अन्तरनिर्भरताको समयमा पनि हामी सकेसम्म आत्मनिर्भर अर्थतन्त्रको पक्षमा छौं। यसका निम्ति कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण, अर्थतन्त्रको औधोगिकरण र आधुनिकीकरण, आर्थिक उन्नतिका लागि पूर्वाधारको विकास, विकासका लागि प्रविधिको नवीन प्रयोग– हाम्रा नीति हुन् ।

हामी सपना मात्रै देख्दैनौँ, सपना मात्रै बाँड्दैनौँ– प्रत्येक दिन यस यात्रामा एक पाइला अघि बढ्छौँ। हामीले नेतृत्व गर्दा मुलुकले हासिल गरेको आर्थिक वृद्धि र अल्पविकसित अवस्थाबाट नेपालको स्तरोन्नतिका निम्ति भएका कामले स्पष्ट पार्छन् ।
बिरासतको यो सूची लामो बनाउन सकिन्छ, तर मलाई विश्वास छ– एमालेको पहिचानको त्यो सूची तपाईँहरूको मनभित्रै कुँदिएको छ, तब त सबै वाधा छिचोलेर तपाईँहरू यहाँ आउनु भएको छ । यिनै बिरासतले गर्दा आज पनि यो पार्टी जनताको मन मनमा छ, मुटु मुटुमा छ । हामी राजनीतिलाई एक्लै र लोकतन्त्रलाई राजनीतिको घेराभित्र मात्रै सीमित राख्दैनौं। त्यसैकारण हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौं । राजनीति, सिंगो नेपाल र सबै नेपाली जनताको सुरक्षा, सम्मान र उन्नतिका लागि हुनु पर्दछ । राजनीति, मानव र मानव संशाधनको विकास र खुशहालीसँग सम्बन्धित हुनु पर्दछ । हाम्रो राजनीति हाम्रा लागि मात्रै होइन, विश्व शान्ति, विश्व वातावरण र विश्वव्यापी रूपमा सामाजिक न्याय, समानता र मानव अधिकारको पक्षमा हुनु पर्दछ–‘बसुधैव कुटम्बकम् ।’ तर हामी माथिका प्रहार पनि कम्ती छैनन् ।

हामी भन्छौँ– देशहरू भूगोलमा साना या ठूला होलान्, तर सार्वभौमसत्ता बराबर हो । कतिलाई लाग्छ, सानो देशले हामीसँग बराबरी गर्न खोज्ने? प्रहार हुन्छ। हामी जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो, सबै नागरिक बराबरी हुन् र आजको युगमा अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन भन्छौँ । हामी हिंसा या युद्ध समाज परिवर्तनको साधन हुन सक्दैन भन्छौँ, जनताको मन जितेर शान्तिपूर्ण ढङ्गले पनि समाज बदल्न सकिन्छ भन्छौँ । हामीमाथि प्रहार हुन्छ । हामी विविधता र बहुलता हाम्रो सम्पदा हो, दूरी बढाउने विषय होइन भन्छौँ । हामीमाथि प्रहार हुन्छ । हामी सार्वभौम मुलुकका रूपमा संविधान बनाउने अधिकार हाम्रो हो। विकासको कुन बाटो रोज्ने भन्ने छनोट हाम्रो हो । कस्तो राजनीतिक प्रणाली बनाउने भन्ने निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौँ । कतिलाई मन पर्दैन । अनि हामीमाथि प्रहार हुन्छ ।

हामी रात जतिसुकै लामो भए पनि उज्यालो हुन्छ भन्ने विश्वास गर्छौँ। सशस्त्र द्वन्द्व, सङ्क्रमणकाल र भूकम्प जस्ता चुनौतीका बीचमा पनि मुलुकले गरिरहेको प्रगतिलाई देख्छौँ। कमजोरीलाई पनि महसुस गर्छौँ । मुलुक बन्छ र बन्दैछ भन्ने भरोसा राख्छौँ । निराशा र नकारात्मकताका अभियन्ताहरूलाई यो मन पर्दैन । अनि फेरि हामीमाथि प्रहार हुन्छ ।

हामी कमजोर भयौँ भनेमात्र नेपालको राष्ट्रिय स्वाधीनता कमजोर हुन्छ भनेर कसैले गणित मिलाइरहेका छन् । हामी नढलुन्जेल, हाम्रो शिर नझुकेसम्म नेपालको स्वाभिमान सीधै रहन्छ । त्यसैले हामीमाथि आक्रमण भइरहेको छ । हामीविरूद्धका शक्तिहरू विभिन्न रङ्गमा अगाडि आउँछन्— कहिले असन्तुष्टि पोख्दै, कहिले परिवर्तनको नारा बोकेर। कलर÷कलरमा– कलर रेभोलुशन भन्दै देखा पर्छन् । तर तिनको भित्री लक्ष्य एउटै छ— हामीलाई विभाजन गर्ने, कमजोर बनाउने, अलमल्याउने र दिशाहीन बनाउने ।

एकपटक सम्झनुस् त ! हामीले संविधान जारी ग¥यौं, त्यसपछिको तीब्र प्रतिक्रियाले भन्छ– हामीले लिएको अडान कतिलाई मन परेको थिएन । भूपरिवेष्ठित मुलुकहरूलाई भू–जडित बनाउन गरिएको यातायात–पारवहन सम्झौता पनि धेरैलाई पचेको थिएन । उत्तर– दक्षिण जोड्ने कनेक्टिभिटी खुलोस्, नेपाल आफैँ हिँड्न सक्ने बनोस् भन्ने हाम्रो चाहना धेरैलाई मन परेको थिएन। सीमाको रक्षा र आफ्नै भू–भागमाथिको सार्वभौमसत्ताको दाबी स्पष्ट गर्दा पनि कतिलाई सहज लागेकै थिएन ।

यही कारणले, बारम्बार हाम्रो पार्टी प्रहारको निशानामा परेको छ । आखिर खयरको बोटमा कसले ढुङ्गा हान्छ र ? ढुङ्गाको चोट खाने त बाटो छेउको आँपको बोटले त हो नि । दाजुभाइ दिदीबहिनीहरू, यति धेरै प्रहार सहेपछि पनि यो पार्टी सतिसालझैँ ठिङ्ग कसरी उभिरहन्छ? यति धेरै शक्ति कहाँबाट आउँछ? यस प्रश्नको उत्तर म यही मैदानमै खोज्न चाहन्छु । एकछिन्— आफ्नै गाउँ÷ ठाँउमा, सहरका टोल÷ टोलमा, टारीको छेउमा, ओडारको चिसोमा बसेर संगठन जोगाइरहेका आफ्नै साथीहरू सम्झनुस् त ! त्यसपछि आफैँ महसुस गर्नुहुनेछ— संकटको बेलामा ढल्ने होइन, अड्ने साहस यस पार्टीले यत्तिका वर्ष कहाँबाट बटुलेको रहेछ ? भदौ २३-२४ को घटनालाई सम्झौँ न। भदौ २४ को त्यो उन्माद के असन्तुष्ट समूहको प्रदर्शन मात्रै थियो ? कि त्यसको आडमा अर्को ठूलो खेल चलिरहेको थियो? त्यस उपद्रवको लक्ष्य सरकार परिवर्तन मात्रै थियो ? कि त्यसभित्र राज्यको मेरूदण्ड नै भाँच्ने योजना पनि लुकेको थियो ?

भ्रममा पर्नै हुन्न– स्थिरताको बाहक बनिरहेको, संवैधानिक प्रक्रियाबाट बनेको सरकार हटाउन त देशलाई खरानी पार्नै पर्थेन । संसदबाटै त्यो काम गर्न सकिन्थ्यो, या अर्को निर्वाचन कुर्न सकिन्थ्यो। तर यो त संविधान, संवैधानिक प्रक्रिया र ७ दशक लामो कठिन संघर्षको उपलब्धिका रूपमा प्राप्त हाम्रो लोकतन्त्रलाई ध्वस्त पारेर शून्यता सिर्जना गर्ने, अस्थिरता बढाउने र राज्यविहीनताको अवस्थामा पुर्‍याउने दीर्घ तयारीसहितको गम्भीर षडयन्त्र थियो । तर यसो भनिरहँदा एउटा कुरा स्पष्ट पारौँ— सामाजिक सञ्जाल खुल्ला होस्, भ्रष्टाचार नियन्त्रण होस्, राज्यमा सुशासन कायम होस् —जेनेरेशन–जेड या नवयुवाहरूले उठाएका यी मागप्रति कसैको पनि असहमति थिएन । यी त हामी स्वयंले वर्षौँदेखि उठाउँदै र कार्यान्वयन गर्दै आएका एजेन्डा थिए । सामाजिक सञ्जाल बन्द गर्ने होइन— कानुनी दायराभित्र, देश र नागरिकको सुरक्षाको हिसाबले नियमन गर्ने मात्रै हाम्रो चाहना थियो । नव–युवाहरूले प्रशासनलाई संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने बचन दिएका थिए। प्रशासनले अनुमति पनि दिएकै थियो ।

तर दुःखको कुरा— त्यो कार्यक्रममा घुसपैठ भयो। विभिन्न स्वार्थ समूह प्रवेश गरे। अनि, हिंसा र तोडफोड त के, फूलको हाँगा पनि भाँच्दैनौँ र निषेधित क्षेत्र तोड्दैनौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका युवा विद्यार्थीहरूलाई अगाडि लगाएर निषेधित क्षेत्र तोड्ने, संसद भवनमा आगजनी र तोडफोड गर्न दुरूत्साहन गर्ने र त्यसैका आडमा आफ्नो निहित स्वार्थ पूरा गर्न हिंसा भड्काउने तत्वका कारण युवा—विद्यार्थीहरूको ज्यान जाने दुःखद् एवम् अकल्पनीय परिस्थिति सिर्जना भयो ।

भदौ २३ गते गोली लागेर ज्यान गुमाएका युवा, भदौ २४ गते अराजक भीडको आक्रमणमा परी मारिएका सुरक्षाकर्मी र नागरिक—सबैप्रति म यस विशाल सभाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइते युवाहरू, परिवारका सदस्यहरू, पीडित बुबाआमा, दिदीबहिनी, दाजुभाइ, सबैप्रति गहिरो समवेदना व्यक्त गर्दछु— शरीर र मन दुवैको चोट चाँडै निको होस् भन्ने कामना गर्दछु ।

साथीहरू, भदौ २३ गते शान्तिपूर्ण भनिएको प्रदर्शन हिंसात्मक हुँदा सिर्जित दुःखद् परिणामप्रति गम्भीर हुँदै, तत्कालीन गृहमन्त्रीले राजीनामा गरिसक्नुभएको थियो । त्यसै दिनको मन्त्रिपरिषद्को बैठकबाट घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्ने निर्णय पनि भइसकेको थियो । असामान्य परिस्थितिप्रति सरकार गम्भीर र संवेदनशील थियो। तर राज्यविरूद्ध आक्रमणको योजना बनाएका तत्वहरूलाई यी कदम पर्याप्त भएनन् । उनीहरूलाई त देश दहन गर्ने अगुल्टो चाहिएको थियो। परिणामतः भदौ २४ को भयानक दिन देशले भोग्नुप¥यो ।
कार्यपालिकाका वडा कार्यालयदेखि केन्द्रीय प्रशासनिक भवनसम्म, व्यवस्थापिकाका पालिकादेखि संघीय संसद भवनसम्म, र न्यायपालिकाका जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म— राज्यका तीनवटै अंगमाथि एकैसाथ आक्रमण गरियो। दलीय व्यवस्थाका आधारस्तम्भ पार्टीका कार्यालयहरू ध्वस्त पारिए। होटल, व्यापारिक प्रतिष्ठान र व्यवसायिक व्यक्तिहरूका निजी सम्पत्ति ध्वस्त पार्दै अर्थतन्त्रको मेरूदण्ड भाँचियो ।

शान्ति–सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि भयानक प्रहार भयो— कुटपिट मात्रै होइन, निर्ममतापूर्वक हत्या समेत गरियो । १२ सयभन्दा बढी हतियार खोसिए, झन्डै एक लाख गोलीगठ्ठा र विविध सामग्री लुटिए । सुरक्षाकर्मीका पोशाक मात्र लुटिएनन्, तिनको अपमान र दुरूपयोग समेत गरियो । जेलको ढोका फोरेर १४ हजारभन्दा बढी कैदीबन्दी भगाइए । नेता÷कार्यकर्ताहरूका निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट मच्चाइयो । यसरी, राष्ट्रपति भवनदेखि सिंहदरबार जस्ता राष्ट्रिय सम्पदाहरू– शहीदका सालिक, लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनका स्मारक, आश्रम र स्मृति भवन समेत १६ सयभन्दा बढी संरचना एकैपटक आगो, ढुंगा र लुटपाटको निशाना बने ।

यी सबै घटनाहरू प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि भए । त्यसैले ती घटना केवल सरकार परिवर्तनका लागि गरिएका दबाब थिएनन । ती त मुलुकको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, नेपाली संस्कार र एकतालाई खल्बल्याउने र गम्भीर रूपमा घाइते पार्ने योजनाबद्ध कदमहरू थिए। जतिबेला, राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमाथि आगो झोस्ने कामलाई नै ’आन्दोलन’, ’बिद्रोह’ र ’क्रान्ति’का रूपमा महिमामण्डित गरिँदै थियो, त्यही भिडको फुटेज देखाएर— कोही सत्ता, कोही सौदा, र कोही सहानुभूति बटुल्दै थिए ।

त्यतिबेला एमाले मात्रै यस्तो पार्टी रह्यो जसले सुरूदेखि नै स्पष्ट भन्यो— यो हाम्रो व्यवस्थामाथिको आक्रमण हो, यो देशमाथिको प्रहार हो । साथीहरू, राज्यको सिंगो प्रणाली तहसनहस पार्न खोजिएको त्यस घडीमा केही समय हामी पनि सुरक्षित स्थानमा रही समीक्षारत रह्यौं । नेताहरू, समाजका अगुवाहरू मारियून्, समाप्त होउन् भन्ने चाहना गर्ने कोही–कोहीले आज व्यंग्य गरेको सुनिन्छ— ’हेलिकप्टर चढेर भागे’ । महाभारतमा पाण्डवहरूलाई लाक्षागृहमा थुनेर आगो लगाइयो, पाण्डवले सुरूङ खनेर बच्नुपर्‍यो ।

इतिहासले दोष कसलाई दियो— आगो बाल्ने दुर्योधन–शकुनीलाई कि आगोबाट बच्न खोज्ने पाण्डवलाई?

प्रश्न त्यत्ति न हो!

त्यो महाविनाश— न हामीले विर्सेका छौँ, न विर्सनेछौँ। दोह¥याएरै भन्छु–– नर्बिसौं !!!

अहिलेलाई यत्ति मात्र— त्यस दिनको महाविनाशको छानबिन होस्, दोषी पहिचान होस्, अपराधीले सजाय पाउँन् !

साथीहरू, त्यो असामान्य परिस्थितिमा थप क्षति नहोस् भनेर मैले राजीनामा दिएँ । देश अन्योलमा थियो । त्यो अन्योल चिर्न संवैधानिक बाटोबाट निकास दिन हामीले विकल्पहरू स्पष्ट राख्यौँ। यदि संसदभन्दा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भए, दलहरूबीच सहमति हुनुपर्छ— संसदमार्फत संविधान संशोधन गर्नुपर्छ । प्रतिनिधिसभा विघटन हुनुहुँदैन ! यही हाम्रो दृढ अडान थियो । कामचलाऊ प्रधानमन्त्रीको नाताले मैले संवैधानिक निकासको बाटो देखाएको थिएँ । तर देशलाई उल्टो दिशामा लगियो— संविधानको बाटो छाडेर बाहिरबाट सरकार गठन गरियो । अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटन गरियो ।

त्यसैले हामी भन्छौँ— अनधिकृत सिफारिसमा प्रतिनिधिसभा विघटन असंवैधानिक छ, गलत छ । जनताले चुनेका प्रतिनिधि घर फर्काउनु भनेको जनतालाई नै राजनीति बाहिर धकेल्नु हो। यस्तो कामले लोकतन्त्र बलियो हुँदैन । त्यसैले— प्रतिनिधिसभा विघटन मान्य छैन । हाम्रो माग स्पष्ट छ— प्रतिनिधिसभा तुरून्त पुनस्र्थापना होस्, देश संविधान र लोकतन्त्रको बाटोमै फर्कियोस् ।

सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ । चुनावको मिति तोकिएको छ, तर के तयारी कतै छ? अहँ देखिँदैन ! चुनाव चाहने सरकार के गथ्र्यो ? सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता देखाउँथ्यो । सभा–जुलुस खुला गथ्र्यो। दलका गतिविधि प्रोत्साहित गथ्र्यो। चुनावको अनिवार्य शर्तका रूपमा रहेको निर्भयताको वातावरण निर्माण गथ्र्यो। तर अहिले के भइरहेको छ? संवादको सट्टा निषेध, बहसको सट्टा मुद्दा, प्रतिस्पर्धाको सट्टा धम्की, नेताको राहदानी रद्द र स्थान– हद ।।। निषेधाज्ञा ! यसरी चुनावको वातावरण बन्छ कि डरको ?

मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतङ्क बढ्छ ? जनताले चाहेको कुरा स्पष्ट छ— साँचो प्रतिस्पर्धा, स्वतन्त्र चुनाव र निष्पक्ष वातावरण ! हाम्रो पनि भनाइ यही हो— डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ ?

तर अहिले कहाँ चुनाव हुँदैछ र ?! चुनावको कुरा मात्र भइरहेको छ ! त्यसैले हाम्रो अडान छ– प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ। म उपस्थित सबै दलका नेता गणलाई पनि लोकतन्त्रमाथिको यो प्रहार, संविधानमाथिको यो आघात र राष्ट्रमाथिकै यस सङ्कटलाई बोध गरेर, यसबाट रत्तिभर विचलित नभई सहकार्यका साथ अगाडि बढ्न आह्वान गर्छु । प्रिय युवा साथीहरू, अहिले केही व्यक्तिहरू नेकपा एमाले र प्रतिष्ठित राजनीतिक दलहरूलाई ‘जेनजी विरोधी’ आरोपित गर्दै तपाईँहरू र हामीलाई भिन्न धारमा उभ्याउन कोशिस गरिरहेका छन् ।

उनीहरूको यस्तो प्रयास नौलो होइन। ३० वर्ष अगाडिसम्म हामीलाई बृद्धबृद्धा विरोधी पार्टी भनेर आरोपित गरिन्थ्यो । हामीले व्यवहारबाटै खण्डित ग¥यौँ । सशस्त्र हिंसा सुरू भएपछि हामीलाई क्रान्ति विरोधी भनेर आरोपित गरियो। हामीले त्यस आरोपको मिथ्यापनलाई पनि तथ्यहरूबाटै पुष्टि गर्‍यौँ। एक अवस्था आयो– हामीलाई पहिचान विरोधी, मधेस विरोधी, जनजाति विरोधी बिल्ला भिराउने कोशिस भयो । हामीले व्यवहारबाट त्यस भाष्यलाई चि¥यौँ, आज नेकपा एमाले मधेस प्रदेशसभामा सबैभन्दा ठूलो दलका रूपमा स्थापित छ । हाम्रो पार्टी साम्प्रदायिक विद्वेषमा होइन, विविधताबीच राष्ट्रिय एकताको पक्षमा छ ।

सबै हतियारमा खिया लागेपछि हामीलाई आज जेनजी विरोधी भनेर भ्रमित गर्ने कोशिस गरिरहेको छ। तर यो भ्रम निराधार छ। जुन पार्टीले आफ्ना सबै पार्टी संरचनामा नयाँ युवालाई स्थापित गर्न विशेष व्यवस्था नै गरेको छ, त्यो पार्टी कसरी नयाँ पुस्ता विरोधी हुन सक्छ ? जसले सरकारमा हुँदा उद्यमशीलता सिकेर केही गर्न चाहने युवाको आँखाका आशालाई हेरेर सीप विकास कार्यक्रम विस्तार ग¥यो, उत्पादन र बजार जोड्ने व्यवस्था मिलायो, स्टार्टअप कार्यक्रम अघि बढायो। त्यो कसरी जेनजी भन्दा टाढा हुन सक्छ ? जसले सरकारमा हुँदा डिजिटल नेपाल फ्रेमवर्क र एआई नीतिलाई प्राथमिकतामा राख्यो– कसरी तपाईंहरू भन्दा फरक हुन सक्छ ?

हामी चाहन्छौं – नेपाली युवाले प्रविधि हातमा लिएर यहीँ बसेरै विश्वसँग प्रतिस्पर्धा गर्न सकोस्। नयाँ रोजगारी सिर्जना होस्, नवप्रवर्तन जन्मियोस्, नयाँ अवसरको ढोका खुलोस्। त्यसैले जेनजीका नाममा स्वार्थको रोटी सेकिरहेका तत्वहरूले फिंजाएको भ्रमबाट मुक्त हुन म साथीहरूलाई आग्रह गर्दछु। म हाम्रा युवाहरूलाई यो पनि स्मरण गराउन चाहन्छु — प्रविधि जति अगाडि बढे पनि, तपाईंहरूको सुरक्षित भोलि लोकतन्त्र, संविधान, शान्ति र राजनीतिक स्थायित्वमाथि नै निर्भर छ । यसका लागि दलहरू अनिवार्य पक्षहरू हुन्। कुनै दल मन नपर्न सक्छ, अर्कोमा जोडिन सकिन्छ। या आफँै दल खोल्न पनि सकिन्छ। तर विचारका आधारमा स्थापना भएका, लामो इतिहास भएका र आन्दोलनको अग्निपरीक्षामा खारिएका दलहरूलाई कमजोर गरेर देश बन्दैन । विचार बिनाका दल र उत्तरदायित्व बिनाका पात्रहरूले अन्ततोगत्वा मुलुकलाई सङ्कटको भुँवरीमा होम्छन् ।

प्रिय कमरेडहरू, साथीहरू, हाम्रो महाधिवेशन लोकतान्त्रिक अभ्यास, वैचारिक गन्तव्यप्रतिको स्पष्टता र एकताको एउटा उदाहरणको रूपमा आयोजना भइरहेको छ । यस्तो परिस्थितिमा हामी हरेकले गहिरो जिम्मेवारी बोधका साथ पार्टीलाई कुनै प्रकारको क्षति हुन नदिनु र उन्नत एकता कायम गर्नु जरूरी छ । यसमा सबैको ध्यान जानेछ भन्ने मैले विश्वास लिएको छु । अर्को कुरा, हामी कसैको कुनै पनि कार्यक्रम बिथोल्ने, बाधा व्यवधान पु¥याउने काम गर्दैनौं। कसैले पनि अरूका कार्यक्रममा व्यवधान उत्पन्न गर्नु सभ्य र लोकतान्त्रिक आचरण होइन। मैले विश्वास लिएको छु,–एमालेका कार्यक्रमहरू बिथोल्न कसैले पनि प्रयास गर्ने छैन । म नेपालका सम्पूर्ण राजनीतिक दलहरू, अन्य संघसंस्थाहरू, नागरिक समाज, मिडिया र आम जनसमुदायलाई आजको असहज परिस्थितिको मिलेर समाधान गर्न यस मञ्चबाट आग्रह गर्दछु ।

साथीहरूलाई स्पष्ट हुन म आग्रह गर्छु। आजको हाम्रो सङ्घर्ष– जेनजी पुस्ता र पाको पुस्ता बीचको हुँदै होइन। पुराना दल र नयाँ पुस्ता बीचको पनि हुँदै होइन। संघर्षको केन्द्रबिन्दु त देश बनाउने र देश जलाउने बीचको हो। मलाई विश्वास छ, आजको नयाँ पुस्ता सधैंभरि देश बनाउने कित्तामा उभिने छ । निश्चय नै, तपाईँहरूको अपेक्षा र राज्यको डेलिभरी क्षमता बीचमा ग्याप छ । तपाईँहरू प्रविधिमा अभ्यस्त हुनुहुन्छ र चाहनुहुन्छ– एक क्लिकमा काम होस्, सेवा दिनका लागि लम्बेतानको लाइन, फाइलहरूको भीड र कर्मचारीहरूको ढिलासुस्तीबाट मुक्त हुन पाइयोस् । अवसरहरू सबैका लागि बराबर होउन्। आफन्तवाद र भ्रष्टाचारको जालो चुँडाउन सकियोस्। योग्यताका आधारमा छनोट होस्। तपाईंहरूका अपेक्षा बिल्कुल जायज छन् ।

यस दिशामा केही उपलव्धि पनि भएका छन् । तर थुप्रै काम गर्न बाँकी छ । तर ती बाँकी काम देखेर या अन्याय देखेर आक्रोशित हुनु स्वाभाविकै हो । तर त्यो आक्रोश रचनात्मक ढङ्गले प्रयोग हुनुपर्छ, जसरी पहाडबाट बगिरहेको खोला बाँधमा बाँधिएर, पेनस्ट्रक पाइपमा छिरेर, टर्बाइनमा पुग्दा ऊर्जाको उज्यालोमा रूपान्तरित हुन्छ । नत्र त त्यसले बाढी बनेर बस्ती बगाउँछ, विपत्ति सिर्जना गर्छ । तपाईंको जायज गुनासोलाई हिंसा र विध्वंशको इन्धन बनाउन खोज्नेहरूबाट जोगिनुहोस्। तपाईंहरूका जायज आवाजको आडमा देशको विरूद्ध हिंसा र सत्ता–स्वार्थको रोटी सेक्नेलाई चिन्नुहोस्। देशका संरचना जलाई खरानी बेच्नेहरूको जालबाट जोगिनुहोस् ।

म युवा पुस्तालाई भन्न चाहन्छु — असहमति राख्नुस्, आलोचना गर्नुस्, जवाफ माग्नुस्। तर एउटा कुरा नबिर्सनुस्— आफ्नो संस्कृतिमा र सभ्यतामा गर्व गर्ने, सही सिद्धान्त र देश बदल्ने सपना बोकेका दलबिना लोकतन्त्र सम्भव छैन । यसै मञ्चबाट म सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गर्छु— जहाँ सकिन्छ त्यहाँ, युवालाई अगाडि सारौँव उनीहरूको कुरा ध्यान दिएर सुनौँव
उनीहरूको जायज एजेन्डालाई उचित स्थान दिऔँ । युवा पुस्तासँगको हाम्रो सहकार्य भावनात्मक मात्र होइन— यसको आधार छ— सिद्धान्तमा दृढ, अनुशासन र आपसी एकता भएको पार्टी ।

साथीहरू, आज हामी सबैभन्दा बढी के कुराको अभाव महसुस गरिरहेका छौँ? उत्तर हो— सुरक्षा ।

सुरक्षा – राज्यले प्रत्येक नागरिकलाई दिनै पर्ने प्रशासनिक सुरक्षा त हुँदै हो, त्यसका अतिरिक्त– युवालाई– रोजगारीको सुरक्षा, आमाबाबुलाई– छोराछोरी विदेशिन नपर्ने भविष्यको सुरक्षा, श्रमजीवी जनतालाई– पारिश्रमिकको सुरक्षा, किसानलाई– पसिनाको मूल्यको सुरक्षा, उद्योगी-व्यापारीलाई– नीति, स्थिरता र लगानीको सुरक्षा, विद्यार्थीलाई– सपनाको सुरक्षा, आम नागरिकलाई– न्यायको सुरक्षा। भाषा, पहिरन, धर्म, आस्था, जात–जातिको गौरव— सबैको पहिचानको सुरक्षा। संविधान, लोकतन्त्र, अदालत, संसद, संस्थाहरू— सबको अस्तित्वको सुरक्षा ।

त्यसैले हामी भन्छौँ— हाम्रो राजनीति केवल सत्ता बदल्ने राजनीति होइन— जीवनमा सुरक्षाको अनुभूति दिने राजनीति हो। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्यको सुरक्षा हो। अर्को शब्दमा– सुरक्षा, समृद्धि र सुखको सुनिश्चितता हो । जहाँ नागरिकको ज्यान, अधिकार, सम्मान, देशको अस्तित्व र भविष्य सुरक्षित होस्।

प्रिय कमरेडहरू, साथीहरू, यस जटिल परिस्थितिमा अनेक चुनौतीहरूको सामना गर्दै आफ्नो गन्तव्यतर्फ दृढता र सक्रियताका साथ अगाडि बढौं। अहिले तत्कालका लागि अनधिकृत र असंवैधानिक सिफारिसमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा अगाडि बढौं। वर्तमान असंवैधानिक सरकारले जालझेल र प्रतिशोधको बाटो लिएको छ । त्यसका लागि एकातिर निर्वाचनको हल्ला गर्ने, अर्कोतिर निर्वाचन बिथोल्ने ‘सरकार–जेनजी सम्झौता’जस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण सिर्जना गर्ने अनेक प्रपञ्चहरूको जालो पनि बुनिरहेको छ । यस स्थितिलाई तोडेर संविधानलाई पुनः लिकमा फर्काउनु छ, जहाँ नेपाल सुरक्षित होओस् ।

साथीहरू, सुरक्षित नेपालको पहिलो सर्त के हो? हामी–हामीबीचको एकता— एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु । हामी एघारौँ महाधिवेशनमा छौँ । यसको अंक ’एघार’लाई एकछिन् ध्यान दिएर हेरौँ— एघारमा दुई वटा ’एक’ हुन्छन्, तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका ’एक’ होइनन्। एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका ’एक’ हुन् ।

त्यसैले, हामी प्रत्येक एक— एमालेले अर्को एक— एमालेसँग हात मिलाउँदा, छुट्टाछुट्टै एक रहँदैनौँ, एउटै ’एघार’ बन्छौँ, बलियो शक्ति बन्छौँ। एक एमाले र अर्को एमाले छुट्टिए, रिसाए, एक–अर्कामाथि घात– प्रतिघात गरे— हामी साधारण ’एक–एक, एक’ मात्र रहनेछौँ । तर एउटाले अर्कोको हात समायो, मन मिलायो— हामी ’एक–एक एघार’ बन्छौँ। हामी एघार बन्दै अघि बढ्यौँ भने— यो एघारौँ राष्ट्रिय महाधिवेशन साँचो अर्थमा सफल हुनेछ ।

सबैलाई शुभकामना ! धन्यवाद !

 

कम्युनिष्टहरु एकतावद्ध हुनुको विकल्प छैन : देव गुरुङ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव देव गुरुङले अहिलेको अवस्थमा कम्युनिष्ट एकताको विकल्प नभएको बताएका छन् । नेकपा (एमाले) को एघारौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै महासचिव गुरुङले अहिलेको अवस्थामा कम्युनिष्ट एकता जरुरी रहेको बताएका हुन् ।

यसका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको बताए । गुरुङले भने, ‘कम्युनिष्टहरू एकताबद्ध हुनुको विकल्प छैन । बामपन्थी एकताको विकल्प छैन । राष्ट्रवादी शक्तिसँग सहकार्य गर्दै अघि बढ्नु पर्छ ।’ एमालेको महाधिवेशनले पनि त्यसका लागि आवश्यक निर्णय गर्नुपर्ने उनले बताएका छन् । अहिलेको अवस्थामा कम्युनिष्ट एकजुट हुनुपर्ने बताउँदै गुरुङले भने, ‘कम्युनिष्टहरूको एकीकरण अनिवार्य छ ।’

मुलुकलाई संवैधानिक बाटोमा फर्काउने उपाय निर्वाचन : खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट पार्दै मुलुकलाई संवैधानिक बाटोमा फर्काउने उपाय निर्वाचन नै भएको बताएका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले) को एघारौँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै खड्काले कांग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठानेको स्मरण गराए । उनले भने, ‘मुलुकलाई संवैधानिक मार्गमा फर्काउने एक मात्र माध्यम निर्वाचन हो ।’

उनले सरकारले निर्वाचनको वातावरण बनाउन सकिनुपर्ने पनि बताए । ‘सरकारका निर्णय, गतिविधिहरू निर्वाचनको वातावरण तयार पार्ने दिशामा अघि बढेका छन् कि छैनन् ?’ उनले प्रश्न गर्दै भने, ‘हामी यसतर्फ गम्भीर छौं र सरकार पनि यसमा गम्भीर हुनुपर्छ ।’ जेनजी आन्दोलनको घटनाबारे गठित आयोगले गरेका निर्णयले पनि निर्वाचनको वातावरण तयार पार्न पर्याप्त योगदान नगरेको खड्काले बताए । ‘नेताहरूका स्थानसम्बन्धी निर्णयहरू र अन्य कार्यहरूले शंका बढाएका छन्। आयोग सतर्क हुनुपर्छ,’ उनले जोड दिए ।

जेनजी आन्दोलनका क्रममा भएका घटनाहरू अत्यन्तै अकल्पनीय रहेको उनको भनाइ थियो । उनले यस घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान खुल्दै गएको र भविष्यमा अझ खुल्ने बताए । हालको राजनीतिक परिस्थितिमा सबै दल एकजुट भएर लोकतन्त्रलाई सुरक्षित गर्नुपर्ने खड्काको धारणा थियो । उनले विगतमा पनि लोकतन्त्र रक्षा गर्न राजनीतिक दलहरूले एकजुट भएर काम गरेको स्मरण गराए ।

 

प्रतिनिधि सभा विघटन मान्य छैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट पार्दै यसलाई स्वीकार नगर्ने बताएका छन् । भक्तपुरको सल्लाघारीमा भएको पार्टीको एघारौँ महाधिवेशन उद्घाटन समारोहमा उनले प्रतिनिधि सभा पुनःस्थापना हुनु आवश्यक रहेको बताए। ओलीले आफ्नो भनाइमा भने, ‘प्रतिनिधि सभाको विघटन हामीलाई मान्य छैन ।’ उनले जेनजी आन्दोलनको समयमा भएको घुसपैठका कारण थप क्षति नहोस् भन्ने उद्देश्यले प्रधानमन्त्रीबाट राजीनामा दिएको स्मरण गराए ।

‘थप क्षति नहोस् भनेर राजीनामा दिएँ, काम चलाउ प्रधानमन्त्रीको हिसाबले बाटो देखाएको थिएँ’, ओलीले भने । तर, त्यसलाई आधार बनाएर प्रतिनिधि सभा विघटन गरिएको उनले आरोप लगाएका छन् । ‘अनधिकृत व्यक्तिबाट प्रतिनिधि सभा विघटनको सिफारिस गरिएको छ । यो असंवैधानिक छ, त्यसैले प्रतिनिधि सभा पुनःस्थापित हुनुपर्छ’, उनले भने ।

ओलीले सरकारले चुनावको वातावरण निर्माण गर्न असफल भएको आरोप पनि लगाए । उनले भने, ‘चुनावको जिम्मेवारी पाएको सरकारले संवादको सट्टा निषेध, घृणा, मिडिया ट्रायल, दल विरोधी षड्यन्त्र, बहसको सट्टा मुद्दा, नेताको राहदानी रोक्का र स्थान हद गरिरहेको छ ।’ उनले जनताले लोकतान्त्रिक विधिबाट चुनाव चाहेको बताए । उनले भने, ‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने क्षमता राख्ने एमाले चुनावबाट भाग्दैन ।’

 

एनपीएल फाइनलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भिडन्त हुँदैछ । फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हो ।

फाइनल खेल ३ः३० बजे शुरू हुनेछ । दुईमध्ये जुन टोलीले उपाधि जिते पनि एनपीएलले यसपटक नयाँ च्याम्पियन पाउने निश्चित छ । खेलका लागि लुम्बिनीले जेजे स्मितको स्थानमा मोबिन सुभसिंहलाई खेलाएको छ। सुदूरपश्चिमले दुई परिवर्तन गरेको छ। मिलन बोहराको स्थानमा दिपक बोहरा तथा मुख्यर अहमदको स्थानमा पुनित मेहरा आएका छन् ।

सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अभिनास बोहरा, इशान पाण्डे, दिपक बोहरा, विनोद भण्डारी, हेमन्त धामी, हरमीत सिंह, सेलडन ज्याक्सन, स्कट कुगेलिइन, पुनित मेहरा।

लुम्बिनी लायन्स
रोहित पौडेल (कप्तानी) सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, मोबिन सुभसिंहा, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेटकिपर), डार्शी शर्ट।

गत सिजन अंक तालिकाको पुछारमा रहेको लुम्बिनी र उपविजेतामा सीमित बनेको सुदूरपश्चिम उपाधिका लागि भिड्दा एनपिएलले नयाभँ च्याम्पियन पाउँदैछ । योसँगै एक खेलाडीले दोस्रो पटक एनपीएलको उपाधि उचाल्ने इतिहास बनाउने छन् । गत सिजन जनकपुर बोल्ट्सले उपाधि जित्दा सो टोलीमा रहेका दुई खेलाडी आज एकअर्काबीच प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल र सुदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामीले गत सिजन जनकपुरका लागि उपाधि जितेका थिए । यो सिजनका लागि जनकपुरले रिलज गरेसँगै मिनिअक्सनबाट हेमन्तलाई सुदूरपश्चिम र शेरलाई लुम्बिनीयले भित्र्याएका थिए ।

त्यसैले हेमन्त वा शेर मध्ये एक खेलाडीले लगातार दोस्रो पटक उपाधि जित्ने पक्का छ । सुदूरपश्चिमले लिग चरणमा ६ खेल जितेर शीर्ष स्थान पक्का गरेको थियो। अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो । यस्तै लुम्बिनी भने प्लेअफमा स्थान पक्का गर्ने क्रममा अंक तालिकाको चौथो स्थानमा थियो। पहिलो खेल जिते पनि लुम्बिनीले त्यसपछि लगातार तीन खेल गुमायो। तर लिगका पछिल्ला तीन खेल जितेर लुम्बिनी अंक तालिकामा चौथो बन्यो । त्यसपछि एलिमिनेटरमा लुम्बिनीले काठमान्डु गोर्खाज र दोस्रो क्वालिफायरमा विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको हो ।

जेनजी आन्दोलनको नाममा देशमाथि योजनाबद्ध आक्रमण भयो : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा भएका गतिविधि सरकार परिवर्तनका लागि मात्र नभई मुलुकलाई गम्भीर रूपमा अस्थिर र घाइते बनाउने योजनाबद्ध प्रयास भएको आरोप लगाएका छन् । एमालेको ११औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ती घटनाले देशको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र र सामाजिक एकतामाथि सीधा प्रहार गरेको बताए ।

अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेपछि पनि देशभर व्यापक तोडफोड र आगजनी भएको उल्लेख गर्दै १६ सयभन्दा बढी संरचना आगो र ढुङ्गाको निशानामा परेको बताए । उनका अनुसार ती सबै घटना सत्ता परिवर्तनका लागि दबाब सिर्जना गर्ने सामान्य आन्दोलन होइनन्, बरु मुलुकलाई अराजकतामा धकेल्ने सुनियोजित कदम थिए । उनले यस्ता गतिविधिले नेपाली समाजका संस्कार र एकतालाई कमजोर बनाउने प्रयास गरिएको दाबी गरे ।

भदौ २३ र २४ गते भएका घटनालाई ‘महाविनाश’ को संज्ञा दिँदै ओलीले ती दिनका दृश्यहरू कहिल्यै बिर्सन नसकिने बताए । असामान्य र जोखिमपूर्ण परिस्थितिमा थप क्षति नहोस् भनेर आफू केही समय सुरक्षित स्थानमा बसेको स्पष्ट पार्दै उनले हेलिकप्टर चढेर भागेको भन्ने प्रचारप्रति आपत्ति जनाए। महाभारतको प्रसंग उल्लेख गर्दै उनले नेतृत्व सुरक्षित रहँदै समग्र परिस्थितिको समीक्षा गर्नु आवश्यक भएको बताए र नेता तथा समाजका अगुवाहरू मारिनुपर्ने चाहना राख्नेहरूले आज व्यङ्ग्य गरिरहेको टिप्पणी गरे ।

ओलीले ती घटनामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग पनि दोहोर्‍याए । देश अन्योलको अवस्थामा पुगेको बेला संवैधानिक बाटोबाट निकास दिन आफूहरूले विकल्प प्रस्तुत गरेको उनले बताए । संसद बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउने हो भने दलहरूबीच स्पष्ट सहमति, संसदमार्फत संविधान संशोधन र संसद् विघटन नगर्ने अडान आवश्यक रहेको उनको भनाइ थियो । उनले असंवैधानिक सिफारिसका आधारमा गरिएको संसद् विघटन अस्वीकार्य भएको उल्लेख गर्दै पुनस्र्थापना बाहेक अर्को विकल्प नरहेको स्पष्ट पारे । देशलाई उल्टो दिशामा धकेल्ने प्रयास भएको भन्दै ओलीले लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादा जोगाउन एमाले दृढतापूर्वक उभिएको दाबी गरे ।

 

अनिर्वाचित सत्ता मञ्जुर छैन, हिंसा र युद्धबाट भएका परिवर्तन स्वीकार्दैनौं : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनमतबाट नआएको सत्ता स्वीकार्य नहुने स्पष्ट पार्दै हिंसा र युद्धलाई परिवर्तनको माध्यम मान्न नसकिने बताएका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित एमालेको एघारौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको मूल आत्मा जनप्रतिनिधिमार्फत सत्ता सञ्चालन हुनु हो भन्ने धारणा दोहोर्‍याए ।

उनले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमप्रति संकेत गर्दै अनिर्वाचित शक्तिको हस्तक्षेपप्रति आपत्ति जनाए । जनताको मतबाट निर्वाचित सरकार नै वैध र स्वीकार्य हुने उल्लेख गर्दै ओलीले भने, ‘जनताको मन जितेर शान्तिपूर्ण तरिकाबाट पनि समाज परिवर्तन सम्भव छ, हिंसा र युद्ध समय परिवर्तनको साधन हुन सक्दैन र हुन हुँदैन ।’ वर्तमान सरकार हिंसाबाट आएको आरोप लगाउँदै उनले एमालेले यस्तो सत्ता नस्वीकार्ने र भविष्यमा पनि स्वीकार नगर्ने प्रष्ट पारे ।

अध्यक्ष ओलीले लोकतन्त्र, संविधान र राजनीतिक दलहरूमाथि पछिल्लो समय संगठित आक्रमणको प्रयास भएको दाबी गरे। तीन महिनाअघि भएको तथाकथित ‘जेनजी आन्दोलन’ को स्मरण गर्दै उनले त्यसबेला देश युद्धभूमि जस्तै बनेको, आगजनी र अराजकता फैलिएको बताए । त्यही समयमा पुराना राजनीतिक दल र नेताहरूको सान्दर्भिकता समाप्त भयो भन्ने भाष्य निर्माण गर्ने प्रयास भएको उल्लेख गर्दै ओलीले भने, एमाले सकियो, लोकतन्त्र सकियो भन्ने प्रचार गलत सावित भएको छ ।

उनका अनुसार विविधता र बहुलता नेपाली समाजको शक्ति हो, कमजोरी होइन । विविधतामा एकता नै राष्ट्रिय मूल मन्त्र भएको भन्दै उनले यसै भनाइका कारण आफूहरू माथि प्रहार भएको आरोप लगाए । संविधान संशोधन गर्ने अधिकार जनताबाट निर्वाचित शक्तिकै हुने उल्लेख गर्दै ओलीले स्वतन्त्रताको प्रयोग र सदुपयोग गर्ने अधिकार पनि जनताकै प्रतिनिधिमा निहित हुने बताए । ओलीले कम्युनिष्ट आन्दोलन र लोकतन्त्रबीचको सम्बन्धबारे पनि धारणा राखे । कम्युनिष्ट पार्टी जति बलियो हुन्छ, लोकतन्त्र त्यति नै सबल र पूर्ण बन्दै जाने उनको दाबी थियो ।

२०४६ साल र २०६२–६३ सालका ऐतिहासिक परिवर्तनमा कम्युनिष्ट पार्टीको निर्णायक भूमिकाका कारण लोकतन्त्र स्थापना र पुनःस्थापना सम्भव भएको उनले स्मरण गराए । कम्युनिष्ट आन्दोलन कमजोर हुँदा लोकतन्त्र पनि कमजोर हुने भन्दै उनले राष्ट्रिय स्वाभिमान सुदृढ गर्ने र समृद्धिको यात्रालाई तीव्र बनाउने जिम्मेवारी कम्युनिस्ट पार्टीकै काँधमा रहेको बताए । महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष ओलीले एमाले केवल वर्तमानको शक्ति नभई भविष्यको पनि आधार भएको दाबी गरे । लोकतन्त्र अझै जीवित रहेको र एमाले अजम्बरी पार्टीका रूपमा अघि बढिरहेको उनको भनाइ थियो । चुनौती, आलोचना र आक्रमणका बाबजुद पार्टी अझ संगठित र सशक्त बनेर अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।

ड्रोनबाट यस्तो देखियो एमालेको ११ औं राष्ट्रिय महाधिवेशन

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ ।

भक्तपुरको सल्लाघारीमा ११ औँ महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाटमहाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा भीड लागेको छ ।

 

एमालेसँग सहकार्य गर्न नाउपाको ढोका सँधै खुला रहन्छ : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले मुलुकको वर्तमान राजनीतिक अवस्थामा दलहरूबीच आपसी विश्वास र सहकार्य अनिवार्य भइसकेको बताएकी छन् । नेकपा (एमाले) को एघारौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले एक्लो राजनीतिक यात्राबाट कुनै पनि शक्ति लक्ष्यमा पुग्न नसक्ने स्पष्ट धारणा राखिन् ।

श्रेष्ठले पछिल्लो समय देखिएको राजनीतिक अस्थिरता र जनआन्दोलनपछिको परिवेशलाई स्मरण गराउँदै सबै राजनीतिक शक्तिहरू साझा जिम्मेवारीका साथ अघि बढ्नु पर्ने आवश्यकता औंल्याइन् । उनले भनिन्, ‘एक्लै हिँडेर गन्तव्यमा पुग्न सम्भव हुँदैन । मुलुकलाई सही दिशामा लैजान राजनीतिक शक्तिहरूबीच विश्वासको वातावरण निर्माण र उच्चस्तरीय सहकार्य अपरिहार्य छ ।’

उनले राष्ट्रिय मुद्दाहरूमा नेकपा (एमाले) सँग सहकार्य गर्न नागरिक उन्मुक्ति पार्टी सधैँ तयार रहेको स्पष्ट पारिन् । राष्ट्रियता संरक्षण, देशको समग्र विकास र लोकतान्त्रिक संरचनाको सुदृढीकरण जस्ता बृहत् विषयमा एमालेसँग सहकार्यको ढोका खुला रहने उनको भनाइ थियो । तर, यस्तो सहकार्य न्याय र समानताको आधारमा हुनुपर्नेमा उनले जोड दिइन् । ‘सहकार्यको आधार बल वा संख्याभन्दा पनि न्याय र समानता हुनुपर्छ’, श्रेष्ठले स्पष्ट पारिन् ।

अध्यक्ष श्रेष्ठले एमाले महाधिवेशन उद्घाटन समारोहमा देखिएको विशाल जनसहभागितिले आफूलाई उत्साहित बनाएको बताइन् । उनले उक्त जनसागरले केवल एमाले मात्र होइन, समग्र राजनीतिक दलहरूलाई नै सकारात्मक सन्देश र हौसला दिएको धारणा व्यक्त गरिन् । लोकतान्त्रिक अभ्यासमा जनताको सहभागिता महत्वपूर्ण हुने उल्लेख गर्दै उनले राजनीतिक दलहरूले जनभावनालाई आत्मसात् गर्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । उनको मन्तव्यलाई राजनीतिक वृत्तमा आगामी दिनमा दलहरूबीच सहकार्यको सम्भावनासँग जोडेर हेरिएको छ ।

 

 

 

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

इटहरी  । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा भारतसहित नेपालका नाम चलेका आठ वटाको टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु चार लाख चार हजार र उपविजेतालाई रु दुई लाख दुई हजार २०० नगद पुरस्कार प्रदान गरिनेछ ।

हरेक खेलमा ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीलाई जनही रु सात हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार प्रदान गरिनेछ ।

ढुक्कले भन्छु, एमाले अजम्बरी छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र एमाले अजम्बरी रहेको दाबी गरेका छन् । आज (शनिबार) भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो दावी गरेका हुन्। उनले तीन महिनाअघि भएको जेनजी आन्दोलनको स्मरण गर्दै देश युद्धभूमि जस्तै जलेको बताएका छन्।

‘जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो । आतताहीबाट जलाइएको थियो । जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमला गरिएको थियो,’ ओलीले भने, ‘एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो । पूराना पार्टी सकिए, पूराना नेताका दिन गए र नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो ।’ धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै आज भक्तपुरमा ठूलो जनसागर ओर्लिएको उनले बताए । ‘जुन यो जनसागर यहाँ ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु, लोकतन्त्र अझै छ । नेकपा एमाले अजम्बरी छ,’ ओलीले भने ।

नेकपा एमाले ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु)

काठमाडौँ । नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सुरु भएको छ ।

महाधिवेशनको उद्घाटन सत्र शनिवार दिउँसोबाट सुरु भएको हो । बन्द सत्र काठमाडौंमा आयोजना हुने तयारी छ । पार्टीले उद्घाटन सत्रमा करिव ३ लाख सहभागी जुटाएको दाबी गरेको छ ।

   

देशलाई बंगलादेश बनाउने खेल भइरहेको छ : डा. सुरेन्द्र झा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा. सुरेन्द्र झाले नेपाललाई बंगलादेश जस्तै जनप्रतिनिधिविहीन बनाउने खेल भइरहेको आरोप लगाएका छन् । नेकपा (एमाले) को एघारौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै डा. झाले सचेत गराएका हुन्।

जेनजी आन्दोलनका नाममा संसद् विघटन गरिएको बताउँदै उनले भने, ‘पुराना शक्तिलाई एक्ल्याउने गरी सरकार हिडिरहेको छ । मुलुकलाई बङ्लादेशको जस्तै जनप्रतिनिधिविहीन बनाउने खेल भइरहेको छ ।’ उनले समयमै चुनाव हुनेमा शंका जनाए । सरकारका क्रियाकलापले निर्वाचनको वातावारण बन्न नसकेको उनको भनाइ थियो ।

एसिया कपः नेपालले श्रीलङ्कालाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ। नेपाली यु–१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर–१९ एसिया कपमा श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ ।

दुबईको द सेभेन्स रङ्गशाला जारी खेलमा श्रीलङ्कासँग निकै कमजोर प्रदर्शन गर्दै नेपाल २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको हो ।

श्रीलङ्काका सेथ्मिका सेनेविरत्नले ९.५ ओभरमा २५ रन खर्चेर ५ विकेट लिँदै नेपालको इनिङ्स ध्वस्त पारे । यही मङ्सिर २६ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । नेपाल समूह ‘बी’ मा छ । नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया छन् ।

असंवैधानिक सरकारले राजाले जस्तै संसद्को हत्या गर्‍यो : मनोज भट्ट

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक ठहर गर्दै त्यसले संसद्को अस्तित्वमाथि गम्भीर प्रहार गरेको आरोप लगाएका छन् । नेकपा (एमाले) को एघारौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै भट्टले जेनजी आन्दोलनको नाममा गठन भएको सरकारले जनप्रतिनिधिमूलक संस्थामाथि हमला गरेको दाबी गरे ।

उनका अनुसार जनताको दैनिकी र जीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सरकारको पहिलो निर्णय नै संसद् विघटनतर्फ केन्द्रित भयो, जसले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको छ । भट्टले भने, ‘जेनजी आन्दोलनको नाममा असंवैधानिक सरकार गठन भयो र त्यसको पहिलो निशानामा संसद् पर्‍यो ।’ उनले यसलाई लोकतान्त्रिक अभ्यासको गम्भीर अवमूल्यनको संज्ञा दिए ।

महासचिव भट्टले नेपालको राजनीतिक इतिहाससँग तुलना गर्दै विगतमा राजाहरूले संसद् विघटन गरेको प्रसंग स्मरण गराए । उनले राजा महेन्द्र र राजा ज्ञानेन्द्रले संसद् भंग गरेको घटनासँग वर्तमान सरकारको कदमलाई जोड्दै उस्तै प्रवृत्ति दोहोरिएको आरोप लगाए । ‘जसरी राजा महेन्द्र र राजा ज्ञानेन्द्रले संसद्को हत्या गरेका थिए, त्यसरी नै अहिलेको सरकारले पनि संसद्को हत्या गरेको छ’, उनले भने ।

उनले असंवैधानिक कदमले मुलुकलाई राजनीतिक अन्योलतर्फ धकेल्ने र जनताको अधिकार कुण्ठित गर्ने खतरा रहेको उल्लेख गरे । लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने साटो कमजोर पार्ने यस्ता निर्णयको विरोध आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा उनले राजनीतिक दलहरूलाई संविधान, संसद् र जनमतको सम्मान गर्न आह्वान गर्दै लोकतान्त्रिक मूल्यको रक्षा गर्न एकजुट हुनुपर्नेमा जोड दिए ।

एमाले कमजोर छैन, झनै शक्तिशाली बनेको छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले झनै शक्तिशाली भएर उठेको दावी गरेका छन् । ११ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले खरानीबाट उठेर एमाले अझै शक्तिशाली बनिरहेको बताएका हुन् । उनले गत भदौ २३ र २४ गतेको घटनापछि एमालेमाथि संगठित र सुनियोजित रुपमा प्रहार भइरहेको बताए ।

उनले नेकपा एमाले सकियो भन्ने कतिपयलाई लागिरहेको भए पनि महाधिवेशनमा उपस्थित संख्याले एमाले झनै शक्तिशाली र बलियो बनेर आएको स्पष्ट हुने बताए । एमाले सरकारबाट मात्रै बाहिरिएको भन्दै नेपाली जनताको हृदयमा गहिरोसँग बसेको बताए । भदौ २३ र २४ पछि अध्यक्ष ओलीमाथि आक्रमण भइरहेको बताए । नेपालको इतिहासमा भदौ २३ र २४ गतेको घटना नवयुवाहरुको भावनामाथि खेल्ने देशविरोधी तत्वहरुको काम भएको बताए । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा ठूला आन्दोलनको नेतृत्व आफूहरुले गरेको बताए ।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटनापछि यो मुलुकमा नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धमा संगठित र सुनियोजित रुपमा जुन प्रकारको प्रहार भइरहेको थियो, कतिपयलाई लागिरहेको थियो, अब नेकपा एमालेको भविष्य समाप्त भयो भनेर । तर हामी जे भनेका थियौँ, सरकारबाट हो हामी बाहिरिएका छौँ । तर नेपाली जनताको हृदयमा गहिरो गरी बसेका छौँ । खरानीको खोक्रोबाट फेरि हामी उठ्नेछौँ भनेर संकल्प गरेका थियौँ । आजको यो ऐतिहासिक जनसभाले पुष्टि गरेको छ । नेकपा एमाले कमजोर छैन, झनै शक्तिशाली बनेको छ ।’
महासचिव पोखरेलले महाधिवेशनमा नवयुवाहरुलाई नेपालको आधारस्तम्भका रुपमा खडा गर्ने बताए । बन्द सत्रका माध्यमबाट पार्टीको नीतिलाई कार्यान्वयन गर्नसक्ने सक्षम नेतृत्व निर्वाचित गर्ने बताए ।