`

अनलाइन स्क्यामिङबाट ८३६ नेपालीको उद्धार

काठमाडौं। सरकारले दक्षिणपूर्वी एसियाका विभिन्न अनलाइन स्क्यामिङ सेन्टरमा फसेका ८३६ नेपाली नागरिकको उद्धार गरिएको जनाएको छ । साथै राहदानी सेवालाई थप सहज, सरल र प्रविधिमैत्री बनाउन विभिन्न सुधारका काम अघि बढाइएको पनि जानकारी दिएको छ ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि निरन्तर समन्वय भइरहेको बताए ।

उनका अनुसार हालसम्म कम्बोडियाबाट ७०९ जना, म्यानमारबाट ११३ जना, लावसबाट आठ जना र थाइल्याण्डबाट छ जना गरी कुल ८३६ नेपालीको उद्धार गरिएको छ ।

‘दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरमा ठगिन पुगेका नेपालीको उद्धार तथा यसबारे सचेतना फैलाउन निरन्तर समन्वय र पहल गरिरहेका छौं,’ प्रवक्ता पौडेलले भने ।

प्रवक्ता पौडेलका अनुसार नेपाली दूतावासको निरन्तर पहलपछि कम्बोडिया सरकारले भिसा अवधि सकिएर बसेका नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गर्ने विषयमा पनि सकारात्मक पहल गरेको छ । चालु वर्ष कम्बोडिया सरकारले ६०२ नेपालीको भिसा शुल्क तथा जरिवाना मिनाहा गरिसकेको उनले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन पनि विभिन्न देशका लागि छुट्टाछुट्टै रणनीति तयार पारेको जनाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, जर्मनी, बेल्जियम, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) लगायत १० देशका लागि रणनीति तयार गरिएको थियो । चालु आर्थिक वर्षमा थप १० देशका लागि रणनीति तयार भएसँगै अहिले २० देशका लागि छुट्टाछुट्टै आर्थिक कूटनीतिक रणनीति कार्यान्वयनको तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयले राहदानी सेवामा सुधारलाई पनि प्राथमिकता दिएको छ । नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी ऐन, २०७६ को पहिलो संशोधन विधेयक सार्वजनिक राय–सुझावका लागि मन्त्रालयको वेबसाइटमा राखिएको छ भने कानुनी प्रक्रियाका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पनि पठाइएको छ ।

छापिएका राहदानी समयमै सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयसम्म पुर्‍याउन हुलाक विभागसँग असार १९ गते सम्झौता भएको र सोही दिनदेखि व्यवस्था कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ ।

यसका साथै देशका जुनसुकै स्थानमा रहेका नागरिकले आफू बसेकै स्थान नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था गर्न आवश्यक तयारी भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

‘जो जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाउन आवश्यक काम भइरहेको छ,’ प्रवक्ता पौडेलले भने।

गृहमन्त्रीको रास्वपा सांसदलाई कटाक्ष- ‘सदनमा जे बोल्नुहुन्छ, बाहिर पनि त्यही व्यवहार गर्नुस्’

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई संसद्‌भित्र र बाहिर एउटै धारणा राख्न आग्रह गरेका छन् ।

गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारसँग जवाफ मागिरहेका सांसदहरूलाई लक्षित गर्दै उनले अगाडि–पछाडि फरक व्यवहार नगर्न सुझाव दिएका हुन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री गुरुङले केही सांसदहरूले व्यक्तिगत भेटमा एक किसिमको व्यवहार गर्ने तर सदनमा अर्कै शैलीमा प्रस्तुत हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘आफ्नै साथीभाइहरू जो अगाडि एउटा, पछाडि अर्को बोल्नुहुन्छ, चित्त बुझ्दैन । अगाडिजस्तै पछाडि पनि बोल्नुपर्‍यो,’ उनले भने, ‘अगाडि आउनुहुन्छ, एकदम घुलमिल गरेर बोल्नुहुन्छ । सदनमा जे बोल्नुहुन्छ, बाहिर पनि त्यही व्यवहार गर्नुस् न । हामीलाई यस्तो पर्दापछाडिको खेल मन पर्दैन ।’

गृहमन्त्री गुरुङले गणेश नेपालीलाई बचाउन राज्यका तर्फबाट सम्भव भएसम्मका सबै प्रयास गरिएको दाबी पनि गरे । सरकारले उपचारका लागि आवश्यक पहल गरेको उल्लेख गर्दै सरकारले कुनै प्रयास नगरेको जस्तो भाष्य निर्माण गर्नु गलत हुने उनको भनाइ थियो ।

गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर विपक्षी दलहरूले सरकारको भूमिकामाथि प्रश्न उठाइरहेका बेला गृहमन्त्री गुरुङले संसद्‌मै सरकारको बचाउ गर्दै आलोचनाको प्रतिवाद गरेका हुन्।

गणेश नेपाली आत्मदाह : उल्टै स्थानीय सरकार र विपक्षी दोषी

काठमाडौं। मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहको घटनाले राजनीतिक वृत्तदेखि सर्वसाधारणसम्म गम्भीर बहस सिर्जना गरिरहेका बेला गृहमन्त्री सुधन गुरुङले संसद्‌मा सरकारको बचाउ गर्दै स्थानीय सरकारको भूमिकामाथि नै प्रश्न उठाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सम्बोधन गरेका उनले घटनालाई लिएर सरकारमाथि भइरहेको आलोचनाको प्रतिवाद गर्दै विपक्षी सांसदहरूलाई नै सरकार सञ्चालनको संरचना बुझ्न आग्रह गरे ।

संसद्‌मा निकै आक्रामक रूपमा प्रस्तुत भएका गृहमन्त्री गुरुङले नेपालमा संघीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकार रहेको स्मरण गराउँदै गणेश नेपालीमाथि ह्वील लक लगाउने काम नेपाल प्रहरी वा ट्राफिक प्रहरीले नभई नगर प्रहरीले गरेको दाबी गरे । ‘सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु । हाम्रो तीन तहको सरकार हुन्छ- संघीय, प्रदेश र स्थानीय । जुन ठाउँमा घटना भयो, त्यहाँ ट्राफिक प्रहरीले होइन, नगर प्रहरीले ह्वील लक लगाएको हो । कुनै पनि भिडियोमा ट्राफिकले ह्वील लक लगाएको देखिएको छ ?’ उनले प्रश्न गरे ।

स्थानीय सरकारले गरेको कामको सम्पूर्ण जिम्मेवारी संघीय सरकारमाथि मात्रै थोपर्न नमिल्ने उनको भनाइ थियो । विपक्षी दलहरूतर्फ संकेत गर्दै उनले दुई तहका सरकार उनीहरूकै नेतृत्वमा रहेको उल्लेख गरे । अहिले कार्यान्वयन भइरहेका धेरै नियम-कानुन विपक्षी दलकै नेतृत्वमा बनेको दाबी गर्दै उनले सरकारले विद्यमान कानुन कार्यान्वयन मात्र गरिरहेको बताए ।

‘दुई तहको सरकार त तपाईंकै छ । अहिले कार्यान्वयन भइरहेको नियम-कानुन पनि तपाईंहरूले नै बनाएको हो । हामी त त्यही कानुन कार्यान्वयन गरिरहेका छौं,’ उनले भने ।

गृहमन्त्री गुरुङले संसद्‌मा आफूविरुद्ध भइरहेको आलोचनाप्रति असन्तुष्टि जनाउँदै आफूले धेरै कुरा सहँदै आएको तर अब सहने सीमा नाघिसकेको बताए । संसद्‌को गरिमा कायम राख्न सबै सांसद जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै उनले सरकारको आलोचना गर्ने सांसदहरूलाई लक्षित गर्दै प्रश्न गरे, ‘घोक्रो सुक्ने गरी भाषण गर्ने कति जना माननीयहरू हिजो अस्पताल जानुभयो ?’

उनले संसद्‌मा चर्को स्वरमा बोल्दैमा जनताका समस्या समाधान नहुने जिकिर गर्दै वास्तविक सेवा जनतामाझ पुगेर काम गर्दा मात्र हुने बताए । आफू प्रचार वा स्टन्टबाजीका लागि राजनीतिमा नआएको दोहोर्‍याउँदै उनले कामबाट परिणाम देखाउने प्रतिबद्धता व्यक्त गरे ।

देश परिवर्तनको उद्देश्य बोकेर राजनीतिमा आएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले विगत पाँच दशकदेखि शासन चलाएका दल र नेताहरूका कमजोरीबाट देशले पाठ सिक्नुपर्ने बेला अझै पनि आरोप-प्रत्यारोप र हिलो छ्यापाछ्यापको राजनीति भइरहेको भन्दै दुःख व्यक्त गरे । उनले संसद्‌मा मर्यादित बहसको आवश्यकता औंल्याउँदै राजनीतिक दलहरूले जनताका वास्तविक समस्यामा केन्द्रित हुनुपर्ने धारणा राखे ।

‘मलाई राम्रोसँग बोल्न नआउन सक्छ, तर काम गर्न र देश जोगाउन राम्रोसँग आउँछ,’ उनले भने, ‘सरकारले कुनै दल वा पार्टी भनेर विभेद गरेको छैन ।’

गणेश नेपालीको उपचारका विषयमा पनि सरकार गम्भीर रहेको दाबी गर्दै गृहमन्त्री गुरुङले भारतमा उपचारका लागि आवश्यक सम्पूर्ण तयारी गरिएको जानकारी दिए । तर बिरामीको अवस्था स्थिर नरहेकाले चिकित्सकहरूको सल्लाहअनुसार तत्काल भारत नलगिएको उनले स्पष्ट पारे ।

गणेश नेपालीको आत्मदाहको घटनापछि संसद्‌मा सरकारको भूमिका, स्थानीय सरकारको जिम्मेवारी, नगर प्रहरीको कार्यशैली र पीडितलाई उपलब्ध गराइएको उपचारबारे सत्तापक्ष र विपक्षबीच आरोप-प्रत्यारोप तीव्र बनेको छ ।

सोही क्रममा गृहमन्त्री गुरुङले सरकारको बचाउ गर्दै स्थानीय सरकार र विद्यमान कानुनी व्यवस्थामाथि जोड दिएका हुन्।

गृहमन्त्रीको अभिव्यक्तिप्रति नेकपा सांसद शर्माको नियमापत्ति

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले संसद्‌मा दिएको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले नियमापत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री गुरुङले सांसदहरूले ‘घाँटी सुक्ने गरी चिच्याएर’ सरकारको विरोध गरेको अभिव्यक्ति दिएका थिए । सोही विषयलाई लिएर सांसद शर्माले आपत्ति जनाएका हुन् ।

सांसद शर्माले गृहमन्त्रीको अभिव्यक्तिले सांसदहरूको सम्मानमा आँच पुगेको भन्दै उक्त भनाइ संसद्को अभिलेखबाट हटाउन माग गरे ।

‘सदनमा सांसद बोल्दा ‘घाँटी सुक्ने गरी चिच्याएको’ भन्न पाइँदैन । सांसदहरूको अपमान गर्न पाइँदैन । उहाँको त्यो भनाइ संसद्को रेकर्डबाट हटाउन माग गर्दछु,’ उनले भने।

नेप्सेको ओरालो यात्रा : झिनो अङ्कले घट्यो

काठमाडौं। धितोपत्र बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक एक दशमलव १३ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६८ विन्दुमा कायम भएको छ ।

ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५८ अङ्कले घटेर ४५३ दशमलव ६० विन्दुमा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव १५ अङ्कले घटेर १७८ दशमलव ५२ र सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १९ अङ्कले ओरालो लागेर १५३ दशमलव ४७ विन्दुमा कायम भएको छ ।

आज एक करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर ६ अर्ब ८६ करोड ७ लाख १८ हजार ६५८ रुपैयाँ बराबरमा खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

१३ उपसमूहमध्ये सात उपसमूहको परिसूचक घट्दा छ उपसमूह भने बढेका छन् । कारोबार भएका कम्पनीमध्ये १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कुमारी इक्विटी फण्ड र कलङ्गा हाइड्रो कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । यता भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआइबिएल स्टेबल फन्ड र सिटिजन बैंक डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।

गृहमन्त्री गुरुङको जवाफ– ‘स्टन्टबाजी गर्न आएको होइन, जनताको सेवा गर्न आएको हुँ’

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले आफू प्रचार वा स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न आएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै गृहमन्त्री गुरुङले संसद्‌मा चर्को स्वरमा बोल्दैमा मात्रै जनताको समस्या समाधान नहुने जिकिर गरे ।

उनले भने, ‘घाँटी चिच्याएर मात्रै हुँदैन । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो । अब हामीले हातले काम गर्नुपर्छ ।’

जनताको सेवा वास्तविक रूपमा जनताकै बीचमा पुगेर गर्नुपर्ने उनको भनाइ थियो । ‘आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ । त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ । मलाई कसैका लागि स्टन्टबाजी गर्ने इच्छा छैन । म आफ्नो देशको सेवा गर्न आएको हुँ,’ उनले भने ।

गृहमन्त्री गुरुङले मन्त्रालयमा बसेर समस्या समाधानका लागि योजना र टिम बनाएर काम गरिरहेको दाबी गरे ।

उनले संसद्‌मै प्रश्न गर्दै भने, ‘हामी गृहमन्त्रीमा बसेर कसरी के गर्ने भनेर टिम बनाएर छलफल गरिरहेका थियौं । म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो हस्पिटलमा कति जना हुनुहुन्थ्यो ? जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ ।’

गणेश नेपालीको मृत्युपछि हर्क अंग्रेजीमा लेखे– ‘राक्षसको सत्ता हुँदा जीवन सकिन्छ’

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले गणेश नेपालीको मृत्युलाई संकेत गर्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अंग्रेजीमा लेख्दै भनेका छन्, ‘राक्षसको सत्ता हुँदा जीवन सकिन्छ ।’

यसअघि पनि साम्पाङले विगतको सरकार र वर्तमान सरकार दुवैप्रति असन्तुष्टि जनाउँदै दुवै सरकार जनताको ज्यान जाने अवस्थाका लागि जिम्मेवार रहेको टिप्पणी गरेका थिए ।

उनले अर्को पोस्टमा लेखेका छन्, ‘गोली चलाएर मार्ने पहिलेको सरकार र फाइन चलाएर अनि डोजर चलाएर मार्ने सरकारमा के फरक छ ?’

साम्पाङले पछिल्ला घटनालाई लिएर सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन् ।

 

‘गणेश नेपाली प्रकरणमा उच्चस्तरीय छानबिन गरियोस्’ : रास्वपा सचेतक परियार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाबारे निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै परियारले घटनाको सत्यतथ्य बाहिर ल्याउन राज्य गम्भीर हुनुपर्ने बताए। उनले घटनाबाट पीडित परिवारलाई राहत, क्षतिपूर्ति तथा दीर्घकालीन भरणपोषणको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे।

‘यो घटनामा राज्यले उच्चस्तरीय छानबिन गरोस्। परिवारका लागि क्षतिपूर्ति, राहत, परिपूरण र भरणपोषणका निम्ति राज्यले उदार छाती देखाओस्,’ उनले संसदमा भने।

परियारले यस्ता घटनाले राज्य र नागरिकबीचको सम्बन्ध तथा सार्वजनिक निकायको व्यवहारमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै सत्यतथ्य पत्ता लगाएर आवश्यक कदम चाल्नुपर्ने धारणा राखे।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो।

घटनापछि सामाजिक सञ्जालदेखि संसदसम्म व्यापक चर्चा भइरहेको छ। विभिन्न राजनीतिक दलका नेता, सांसद तथा नागरिक समाजका प्रतिनिधिहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक नीतिगत सुधार गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

रक्षा बमले यस्तो लेख्दै गरिन् गणेशको बिदाई…. ‘धेरै सतायो यो राज्यले,अब आराम गर’

काठमाडौं। जेनजी नेता रक्षा बमले गणेश नेपाली आत्मदाह प्रकरणलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र उनका समर्थकहरूमाथि तीव्र टिप्पणी गरेकी छन्।

उनले ३५ वर्षको राजनीतिक भार पुराना दललाई बोकाउन खोज्ने सत्तारुढ रास्वपा समर्थक तथा बालेनका ‘फ्यानबोई’हरूले अब बालेनको तीन वर्षे शासनकालको जिम्मेवारी पनि बोक्न तयार हुनुपर्ने बताएकी छन्।

फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बमले गणेश नेपाली आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना हुनु बालेन काठमाडौं महानगरपालिकाको प्रमुख बनेपछि नगर प्रहरीमा संस्थागत रूपमा विकास भएको अमानवीय र असंवेदनशील कार्यशैलीको परिणाम भएको दाबी गरेकी छन्।

उनले लेखेकी छन्, ‘आज गणेश आत्मदाह गर्नुपर्ने अवस्था आउनु बालेन काठमाडौंको मेयर हुँदा महानगर प्रहरीमा प्लान्ट गरिएको अमानवीय, असंवेदनशील र गुण्डागर्दी प्रवृत्ति नै हो। बालेनको नगर प्रहरीले निरन्तर गरिब, सडक व्यापारी र सुकुम्बासीको आत्मसम्मानमाथि हमला गरिरह्यो, तर मेयरले त्यसलाई कहिल्यै मानवीय दृष्टिकोणबाट हेर्न चाहेनन्। अहिले पनि त्यही प्रवृत्ति जारी छ। मेयरताकाको तुलनामा उनको डोजर अझ ठूलो भएको छ, नगर प्रहरीको लाठीबाट एकै इसारामा प्रहरी र सेनाको बन्दुकका नाल तेर्साउन सक्ने अवस्था बनेको छ।’

रक्षा बमले चुनावी अभियानका क्रममा सडक व्यापारीको सहज व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका बालेन महानगरको नेतृत्वमा पुगेपछि गरिबप्रति कठोर बनेको आरोप पनि लगाएकी छन्।

उनले लेखेकी छन्, ‘सत्य कुरा के हो भने, चुनावताका सडक व्यापारी व्यवस्थापन सजिलै गर्छु भनेर धाक लगाउने उम्मेदवार बालेन शाह महानगरको कमाण्डर भएपछि एकाएक बदलिए र गरिबमारा बन्न पुगे। चमेली अभियान, अभियानता ‘ईः’ लगायतका आन्दोलन हुँदा पनि उनले संवाद गर्न चाहेनन्। पछि अदालतले अंकुश लगाएपछि मात्र उनको डोजरको गति केही सुस्त भएको हो।’

उनले बालेनको कार्यशैलीले संस्थागत रूपमा एउटा कठोर प्रवृत्ति स्थापित गरेको दाबी गर्दै त्यसको असर देशका विभिन्न स्थानमा देखिन थालेको उल्लेख गरेकी छन्।

उनका अनुसार, ‘त्यही प्लान्ट गरिएको प्रवृत्तिले कर्णालीमा सडक किनारमा काफल बेच्ने महिलाको आत्मसम्मानमा चोट पुर्‍यायो, वन कर्मचारीको भेषमा गरिबको अटो भिरबाट गुल्टाइयो। समाजको एउटा ठूलो तप्काले यस्ता कदमलाई प्रोत्साहन गरिरहेसम्म यो क्रम रोकिने छैन।’

रक्षा बमले गणेश नेपालीको मृत्युको विषयमा अब दोष अन्तैतिर मोड्ने प्रयास हुन सक्ने दाबी पनि गरेकी छन्।

उनले लेखेकी छन्, ‘अब एउटा तप्काले आत्मदाह गर्ने गणेशमाथि नै प्रश्न उठाउन थाल्छ। गणेशको मृत्युको दोष राज्यबाट हटाएर सुनिता डंगोल नेतृत्वको महानगरतर्फ धकेल्ने प्रयास हुन्छ। सरकार नयाँ ‘फण्डा’ खोज्छ, केही दिनमै अर्को विवादास्पद विषय ल्याएर जनध्यान अन्तैतिर मोड्ने प्रयास हुन्छ।’

अन्त्यमा उनले बालेनले आफ्नो कार्यशैली नसुधारेसम्म यस्ता घटना दोहोरिने चेतावनी दिँदै लेखेकी छन्, ‘जबसम्म बालेनले आफ्नो शैली सुधार्दैनन् र उनलाई निरन्तर गल्ती दोहोर्याउन छुट दिने फ्यानबोईहरूले तीन वर्षे महानगरकालीन सत्ता सञ्चालनको भारी बोकाउँदैनन्, तबसम्म यो चलिरहन्छ। गणेशहरू मरिरहन्छन्। अलबिदा गणेश, धेरै सतायो यो राज्यले। अब आराम गर।’

उनको स्टाटस जस्ताको त्यस्तै: 

३५ वर्षको भारी पुरानालाई बोकाउने रास्वपा समर्थक र बालेनको फ्यानबोईहरूले, बालेनलाई ३ वर्षको भारी बोकाउन अब तयार हुनुपर्छ।
आज गणेश आत्मदाह गर्नुपर्ने अवस्था आउनु बालेन काठमाडौंको मेयर हुँदा महानगर प्रहरीमा प्लान्ट गरिएको अमानवीय, असंवेदनशील र गुण्डागर्दी प्रवृत्ति नै हो। बालेनको नगरप्रहरीले निरन्तर गरिब ,सडक व्यापारी र सुकुम्बासीको आत्मसम्मानमा हमला गरिरह्यो, र मेयरसाबले त्यसलाई मानवीय दृष्टिकोणबाट कहिल्यै पनि हेर्न चाहेनन्। अहिले पनि उनी यसलाई निरन्तरता दिइरहेका छन्, मेयरताकाको तुलनामा उनको डोजर अझ ठूलो भएको छ, नगरप्रहरीको लाठीबाट एकै इसारामा प्रहरी र सेनाको बन्दुकका नाल तेर्साउन सक्ने भएका छन्।
सत्य कुरा के हो भने, मेयरको चुनावी अभियानमा सजिलै सडक व्यापारी व्यवस्थापन गर्छु भनेर धाक लगाएका उम्मेदवार बालेन शाह, महानगरको कमाण्डर भएपछि एकाएक बदलिए र गरिबमारा बन्न पुगे। अति भएर चमेली अभियान, अभियानता इः, महानगर बाहिर १९९ घण्टा उभिँदा सम्म वार्ता प्रारम्भ गर्ने चाईचुई नगरेपछि, उनकै सचिवालयबाट विद्रोह हुने अवस्था सिर्जना भयो अनि मात्र गलेका हुन्। पछि अदालतले अंकुश लगाउन थालेपछि आफ्नो एक्सप्रेस वेमा कुदिरहेको डोजरको स्पीड घटाएका हुन्।
तर उनले त्यो गरिबमारा शैली संरचनागत रूपमा प्लान्ट गरिसकेका थिए। कर्णालीमा सडक छेउ काफल बेच्ने दिदीको आत्मसम्मानमा त्यही प्लान्टेड प्रवृत्तिले झापड हानेको हो, वनका कर्मचारीको भेषमा त्यही प्लान्टेड प्रवृत्तिले गरिबको अटो भिरबाट गुल्टाएको हो। र यो चलिरहने छ, जबसम्म समाजको ठूलो एउटा तप्काले यी कदमहरूलाई प्रोत्साहन गर्छ। गरिब र अन्यायमा परेकाको आँसु उसको लागि मिम मेटेरियल बन्छ, तबसम्म यो चलिरहन्छ।
अब एउटा तप्का आत्मदाह गर्ने गणेशमाथि प्रश्न र लाञ्छना तेर्साउन सुरु गर्छ, गणेशको मृत्युको दोष राज्यबाट सुनिता डंगोल नेतृत्वको महानगरलाई लगाउन खोज्छ। सरकार नयाँ फण्डा खोज्न थाल्छ, सम्भवतः अब केही दिनमा अर्को विवादास्पद कुरा तुरुप सरह हामिमाझ फालिन्छ, मास डाइभर्ट गरिन्छ। सुधन गुरुङका कारण चर्को आलोचना हुन थालेपछि, एकाएक थापथलीको सुकुम्बासी बस्तिमा बिना तयारी डोजर चलाए जसरी। र सुधन गुरुङको पुनर्वहालीमा दरबार हत्याकाण्डको छानबिन गर्छु भनेजसरी।
त्यसैले जबसम्म बालेनले आफ्नो शैली सुधार्दैनन्, उनलाई निरन्तर गल्ती दोहोर्याउन छुट दिने फ्यानबोईहरूले बालेनलाई ३ वर्षे महानगरकालीन सत्ता सञ्चालनको भारी बोकाउँदैनन्, तबसम्म यो चलिरहन्छ,
गणेशहरू मरिरहन्छन्।
अलविदा गणेश। धेरै सतायो यो राज्यले । अब आराम गर।

‘तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?’- ज्ञानेन्द्र शाही प्रश्न

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको उपचारमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले गृहमन्त्री सुदन गुरुङको कार्यशैलीको आलोचना गर्दै उपचार व्यवस्थापनभन्दा प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको टिप्पणी गरे।

‘गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?’ उनले प्रश्न गरे।

शाहीले गृहमन्त्री उपचारको प्रभावकारी व्यवस्थापनमा लाग्नुपर्ने बेलामा प्रचारका लागि विभिन्न स्थानमा दौडधुप गरिरहेको आरोप लगाए।

‘गृहमन्त्री हिजो फिल्मको नायकजस्तै कहिले एयरपोर्ट, कहिले यता, कहिले उता क्यामेरा लिएर दौडिरहनुभएको थियो,’ उनले भने, ‘यदि साँच्चै उपचार गर्ने उद्देश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुने थिएन।’

सांसद शाहीले गृहमन्त्रीको प्राथमिकता सामाजिक सञ्जाल वा युट्युबका लागि ‘कन्टेन्ट’ बनाउनु नभई नागरिकको जीवन रक्षा हुनुपर्ने धारणा राखे।

‘आज गृहमन्त्री कहाँ हिँड्नुभयो, युट्युबमा कति कन्टेन्ट बनाउनुभयो भन्ने कुरा महत्त्वपूर्ण होइन । महत्त्वपूर्ण कुरा उहाँको आदेशबाट जनताको जीवन बच्यो कि बचेन भन्ने हो,’ उनले भने।

उनले गणेश नेपालीलाई समयमै सुविधासम्पन्न अस्पतालमा वा आवश्यक परे एयर एम्बुलेन्स अथवा विमानमार्फत भारतको नयाँदिल्ली लगिएको भए उनको ज्यान जोगिन सक्ने दाबी पनि गरे।

‘एयरपोर्टमा दौडिनुको सट्टा एउटा जहाज पठाएर दिल्ली पुर्‍याएको भए आज उनको जीवन बच्ने थियो,’ शाहीले भने।

शाहीले प्रचारमुखी गतिविधिभन्दा परिणाममुखी काम गर्न सरकारलाई आग्रह गर्दै गृहमन्त्री जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताए।

‘गृहमन्त्रीलाई जिम्मेवार बन्न, कन्टेन्ट क्रियटर नभई देशको वास्तविक गृहमन्त्री बन्न अनुरोध गर्न चाहन्छु,’ उनले भने, ‘मन्त्रीहरूले सडकमा चटक देखाउने होइन, काम गर्न आदेश दिने र त्यसको कार्यान्वयन सुनिश्चित गर्ने हो।’

जब संसदमै लाग्यो ‘सरकार मुर्दावाद’को नारा

काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युलाई राज्यद्वारा गरिएको हत्या भएको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले सरकारको कार्यशैलीको कडा आलोचना गर्दै नागरिकलाई निराशाको चरम बिन्दुसम्म पुर्‍याउने काम राज्यबाट भइरहेको दाबी गरे।

‘स्टन्ट गर्ने बानी सरकारले छोड्नुपर्छ । राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँमा पुर्‍याएको छ । सुकुम्बासी हुन् वा गणेश नेपाली, नागरिकलाई जबर्जस्ती मृत्युको मुखमा धकेल्ने काम राज्यले गरिरहेको छ । यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ,’ महरले भने।

उनले गृहमन्त्री र सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार वास्तविक समस्या समाधानभन्दा प्रचारमुखी गतिविधिमा केन्द्रित भएको आरोप लगाए।

महरले ऐतिहासिक प्रसंग उल्लेख गर्दै निरंकुश राणा शासनको विरोधमा योगमाया न्यौपानेले जलसमाधि लिएको स्मरण गराए।

‘योगमाया न्यौपानेको जलसमाधिले राणा शासन ढल्यो भने गणेश नेपालीको आत्मदाहका कारण यो सरकारले पनि ठूलो मूल्य चुकाउनुपर्नेछ । यो हत्याको जिम्मेवार यो सरकार नै हो,’ उनले भने।

आफ्नो भनाइको अन्त्यमा महरले सरकारविरुद्ध नाराबाजी गर्दै ‘यो सरकार मुर्दावाद’ भन्ने नारा समेत लगाएका थिए।

मुगुका सांसद शाही भन्छन् -‘सरकारले गणेशको लासमाथि स्टन्टबाजी गर्‍यो’

काठमाडौं। नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारले ‘हैकमवाद’ र ‘स्टन्टबाजी’ गरेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै मुगुबाट निर्वाचित सांसद शाहीले गणेश नेपालीको उपचार र मृत्युबारे सरकारले पारदर्शी ढंगले काम नगरेको दाबी गरे।

उनले घटनालगत्तै आफूले संसद्मा सरकारको ध्यानाकर्षण गराएको स्मरण गर्दै बिहीबार राति प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेसँगै वीर अस्पताल पुगेको बताए।

‘सरकारले गणेशप्रति नाटक गर्‍यो । हिजो बेलुका म त्यहाँ (वीर अस्पताल) गएको थिएँ । चिकित्सकले नै उहाँको ९५ प्रतिशत बाँच्ने सम्भावना छैन भन्नुभएको थियो,’ शाहीले भने।

उनले गृहमन्त्री सुधन गुरुङले राति अस्पताल पुगेर उपचारका लागि नयाँदिल्ली लैजाने तयारी भएको सार्वजनिक गरे पनि त्यसलाई ‘स्टन्टबाजी’को संज्ञा दिए।

‘उहाँले गर्न खोज्नुभएको प्रयास होला, ठीक छ । तर गणेश नेपाली राति नै बितिसकेका रहेछन् । बिहानसम्म घोषणा गरिएन,’ उनले भने।

सांसद शाहीले अस्पतालले वास्तविक अवस्था लुकाउन खोजेको आरोपसमेत लगाए।

‘हामी भीष्मराज आङ्देम्बे र म गइसकेपछि शैयामा राखिएको शव देख्यौँ । त्यसपछि पनि स्वास्थ्यमन्त्री र अस्पतालका चिकित्सकहरूले किन घोषणा गर्नुभएन ? मान्छेको मृत्यु भइसकेको छ, तर पत्रकार सम्मेलन गरेर उपचार भइरहेको छ भन्नुहुन्छ । मान्छेको मृत्यु भइसकेपछि केको पत्रकार सम्मेलन ?’ उनले प्रश्न गरे।

शाहीले गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र घटनाबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि गरे।

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : एमाले सांसद लिम्बू

काठमाडौं। प्रमुख विपक्षी दल नेकपा (एमाले) ले राइड-सेयरिङ चालक गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद भूमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्यु सामान्य घटना नभई राज्यको कार्यशैलीसँग जोडिएको गम्भीर विषय भएको बताइन्।

‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले भनिन्।

सांसद लिम्बूले ट्राफिक व्यवस्थापनका नाममा नागरिकमाथि हुने व्यवहारप्रति पनि प्रश्न उठाउँदै सरकारले आफ्नो कार्यशैलीको समीक्षा गर्नुपर्ने धारणा राखिन्।

‘राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्नुस्,’ उनले भनिन्।

उनले घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कानुनी कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी सरकार जिम्मेवार बन्नुपर्ने माग समेत गरिन्।

गणेश नेपालीको निधनप्रति गगन थापाको दुःख व्यक्त

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यस घटनालाई राजनीतिक आरोप-प्रत्यारोपको विषय नबनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै थापाले गणेश नेपालीको मृत्युले समाज, राज्य र सम्पूर्ण नागरिकलाई आत्मचिन्तन गर्न बाध्य बनाएको बताएका छन्।

‘यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन । यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो,’ उनले लेखेका छन्।

थापाले मृतकका आश्रित परिवारप्रति समवेदना व्यक्त गर्दै उनीहरूको दुःखमा सबैले आ-आफ्नो ठाउँबाट साथ दिनुपर्ने बताएका छन्।

‘मृतक नेपालीको आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गरौँ,’ उनले आग्रह गरेका छन्।

उनले विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

‘हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ । एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ ?’ थापाले प्रश्न गरेका छन्।

उनले राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने भए पनि किन कतिपय नागरिक राज्यकै सामु आफूलाई असहाय महसुस गर्न बाध्य भइरहेका छन् भन्ने प्रश्न पनि उठाएका छन्।

‘समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ ? यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ,’ थापाले उल्लेख गरेका छन्।

गणेश नेपालीको मृत्युपछि धुर्मुसले भने – ‘गणेशमा आफ्नै प्रतिबिम्ब देख्छु’

काठमाडौं। हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत भावुक प्रतिक्रिया दिएका छन्।

धुर्मुसले गणेश नेपालीको घटनाले आफूलाई गहिरो रूपमा छोएको उल्लेख गर्दै उनीमा आफ्नै प्रतिबिम्ब देखेको बताएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘लामो समयदेखि पीडा, निराशा र उकुसमुकुसका बीच बाँचिरहेको म, गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु। राज्य सबै नागरिकको साँचो अभिभावक बनोस्। देशमा सम्मानपूर्वक श्रम गरेर बाँच्न सकिने वातावरण बनोस्।’

उनले भविष्यमा कुनै पनि नेपालीले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाहजस्तो कदम रोज्नुपर्ने अवस्था नआओस् भन्ने कामना पनि व्यक्त गरेका छन्।

‘फेरि कुनै नेपालीले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाह रोज्नुपर्ने अवस्था कहिल्यै नआओस्,’ उनले सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्।

गणेश नेपालीको निधनपछि विभिन्न क्षेत्रका व्यक्तिहरूले घटनाप्रति दुःख व्यक्त गर्दै राज्यले श्रमिक, युवा तथा सर्वसाधारण नागरिकका समस्याप्रति थप संवेदनशील हुनुपर्ने धारणा सार्वजनिक गरिरहेका छन्।

‘प्रेम आचार्यका बेला प्रश्न गर्ने प्रधानमन्त्री अहिले किन मौन ?’

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको विषय प्रतिनिधिसभामा उठेको छ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले समय माग गर्दै सरकारसँग घटनाबारे जवाफ मागिन्।

उनले गणेश नेपालीको मृत्यु प्रकरणलाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गर्दै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई लक्षित गर्दै प्रश्न उठाइन्।

थापाले नयाँ बानेश्वरमा प्रेम आचार्यले आत्मदाह गरेपछि तत्कालीन सरकारसँग प्रश्न गर्ने प्रधानमन्त्री बालेन अहिले आफ्नै सरकारको पालामा भएको घटनामा किन मौन रहेको भन्दै जवाफ मागिन्।

‘नयाँ बानेश्वरमा प्रेम आचार्यले आत्मदाह गर्दा सरकारलाई प्रश्न गर्ने प्रधानमन्त्री अहिले किन बोल्न सक्नुभएको छैन ? त्यसको उत्तर दिन अहिले किन गाह्रो भइरहेको छ ?’ भन्दै उनले सरकारको धारणा संसद्मा स्पष्ट पार्न माग गरिन्।

गणेश नेपालीको मृत्यु प्रकरणबारे निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही गर्न पनि उनले सरकारसँग माग गरिन्।

संसदमा विपक्षी दलहरूको विरोध

काठमाडौं। प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।

सिंहदरबारस्थित संघीय संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।

विपक्षी सांसदहरूको विरोध जारी रहेपछि सभामुख अर्यालले कांग्रेसका प्रमुख सचेतक वासना थापालाई आफ्नो धारणा राख्न समय दिएका छन्।

विपक्षी दलहरूले विरोध गर्नुको कारणबारे बैठकमा विस्तृत धारणा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

गणेश नेपाली मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राइड–सेयरिङ चालक गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनाबारे निष्पक्ष र गम्भीर छानबिन गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै आङ्देम्बेले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै राज्यका निकायबाट हुने दुर्व्यवहार र प्रताडनाका कारण नागरिक आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य हुने अवस्था आउनु अत्यन्तै गम्भीर विषय भएको बताए।

उनले गणेश नेपालीका परिवारले महानगर प्रहरीबाट भएको प्रताडनाका कारण उनी मानसिक तनावमा रहेको दाबी गरेको उल्लेख गर्दै घटनाबारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताए।

‘महानगर प्रहरीले गर्ने प्रताडनाका कारण गणेश नेपाली पीडामा रहेको र त्यसकै कारण उनी डिप्रेसनमा पुगेको परिवारको भनाइ आएको छ। घटनाबारे अनुसन्धान भइरहेको होला र सत्यतथ्य बाहिर आउला,’ उनले भने, ‘तर आफूलाई शक्तिशाली देखाउने नाममा राज्य वा राज्यका कुनै पनि निकायले श्रम गरेर जीविका चलाउने मजदुरमाथि दुर्व्यवहार गर्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन। राज्य सधैँ श्रमिक र नागरिकको पक्षमा उभिनुपर्छ, तर पछिल्ला घटनाले त्यसको विपरीत अवस्था देखाएको छ।’

आङ्देम्बेले गणेश नेपालीले अन्तिम समयसम्म परिवारलाई आफू अन्यायमा परेको बताएको उल्लेख गर्दै घटनाको वास्तविक कारण सार्वजनिक गर्न सरकारसँग आग्रह गरे।

‘गणेशले बोल्न सकुञ्जेल परिवारलाई आफू प्रताडित भएको बताएका रहेछन्। त्यसैले यो घटनाको गम्भीर, निष्पक्ष र तथ्यमा आधारित अनुसन्धान गरेर वास्तविकता सार्वजनिक गर्नुपर्छ। यस्ता घटना दोहोरिन नदिन पनि सरकारले आवश्यक कदम चाल्नुपर्छ,’ उनले भने।

राइड–सेयरिङ चालकहरू स्वरोजगार श्रमिक भएको उल्लेख गर्दै उनले उनीहरूमाथि हुने दुर्व्यवहार तत्काल रोक्नुपर्ने बताए।

‘राइड–सेयरिङ प्लेटफर्म दुई छाक खानका लागि मेहनत गरेर परिवार पाल्ने श्रमिकहरूको जीविकोपार्जनको माध्यम हो। यस्ता श्रमिकलाई सडक किनारमा मोटरसाइकल पार्किङ गरेको भन्दै अपमानित गर्ने वा दुर्व्यवहार गर्ने कार्य उचित होइन,’ उनले भने।

आङ्देम्बेले गणेश नेपालीको मृत्यु प्रकरणमा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, घटनाको निष्पक्ष छानबिन गर्न तथा भविष्यमा राइड–सेयरिङ चालकहरूमाथि हुने दुर्व्यवहार रोक्न प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।

गणेश नेपाली मृत्यु प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका २५ वर्षीय गणेश नेपालीको घटनाबारे अनुसन्धान गर्न प्रहरीले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार दुई महिला र एक पुरुष नगर प्रहरीलाई नियन्त्रणमा लिएर कालीमाटी प्रहरी वृत्तमा राखी घटनाबारे सोधपुछ भइरहेको छ। घटनासँग सम्बन्धित सबै पक्षको भूमिका अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ।

मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश नेपाली काठमाडौंमा राइड सेयरिङ सेवा सञ्चालन गर्दै आएका थिए। बिहीबार दिउँसो राहदानी विभागअगाडि पार्किङ गरिएको उनको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक लगाएपछि उनी र सुरक्षाकर्मीसँग केहीबेर विवाद भएको बताइएको छ।

आफन्तका अनुसार त्यसपछि उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा खन्याई आगो लगाएका थिए। घटनालगत्तै उनलाई उद्धार गरी वीर अस्पताल पुर्‍याइएको थियो।

बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको चिकित्सकहरूले बताएका थिए। उनको ‘बर्न आइसियु’ मा सघन उपचार भइरहेको थियो।

उपचारकै क्रममा शुक्रबार बिहान करिब साढे ११ बजे उनको निधन भएको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीले घटनाको वास्तविक कारण, घटनाअघि भएको विवाद तथा नगर प्रहरीको भूमिकालगायत सबै पक्षबारे अनुसन्धान भइरहेको जनाएको छ।

चिप उद्योग संकटमा, १ लाख बढी कामदार अभाव हुने चेतावनी

एजेन्सी। हालै सार्वजनिक भएको ब्लूमबर्गको विस्तृत प्रतिवेदनले अमेरिकाको सेमिकन्डक्टर (चिप) उद्योग गम्भीर जनशक्ति संकटतर्फ उन्मुख भइरहेको चेतावनी दिएको छ।

प्रतिवेदनअनुसार अत्याधुनिक चिप उत्पादन गर्ने नयाँ कारखानाहरू निर्माण भइरहेका बेला दक्ष प्राविधिक र इन्जिनियरको अभावले परियोजनाहरू ढिलाइ हुने मात्र होइन, भविष्यको विश्वव्यापी चिप आपूर्तिमा समेत असर पर्ने जोखिम बढेको छ।

उद्योगका प्रमुख कम्पनीहरूले स्रोतसाधन साझा नगरे र सरकारी सहयोग निरन्तर नपाए अमेरिकाको घरेलु चिप उत्पादन क्षमता विस्तार गर्ने महत्वाकांक्षी योजना नै प्रभावित हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। विशेषगरी टेक्सस, एरिजोना, क्यालिफोर्निया, न्युयोर्क र ओहायोमा निर्माण भइरहेका विशाल चिप प्लान्टहरू जनशक्ति अभावको सबैभन्दा ठूलो मारमा पर्ने अनुमान गरिएको छ।

म्याकिन्से एन्ड कम्पनी, उद्योग समूह सेमि  र नेशनल साइन्स फाउन्डेशनको संयुक्त अध्ययनअनुसार सन् २०३० सम्म अमेरिकामा सेमिकन्डक्टर उद्योगमा करिब १ लाख ५७ हजार पूर्णकालीन दक्ष कामदारको अभाव हुनेछ। अमेरिकी शिक्षा प्रणाली र तालिम कार्यक्रमले उद्योगको तीव्र मागअनुसार जनशक्ति उत्पादन गर्न नसक्दा यो अन्तर झन् बढ्ने देखिएको छ।

जनशक्ति संकटका कारण विश्वका ठूला चिप उत्पादक कम्पनीहरूको लगानीसमेत जोखिममा परेको छ। ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीले एरिजोनामा करिब २६५ अर्ब डलर बराबरको लगानीमा एक दर्जन चिप उत्पादन तथा प्याकेजिङ प्लान्ट निर्माण गरिरहेको छ।

त्यसैगरी माइक्रोन टेक्नोलोजीले न्युयोर्कमा १०० अर्ब डलरको मेमोरी चिप परियोजना अघि बढाएको छ भने सामसङ इलेक्ट्रोनिक्सले टेक्ससमा आफ्नो उत्पादन क्षमता विस्तार गरिरहेको छ। इन्टेलले ओहायोमा निर्माण गरिरहेको २८ अर्ब डलरको परियोजनाले पनि उत्पादन सुरु हुने चरणमा दक्ष जनशक्तिको चरम अभाव सामना गर्नुपर्ने अवस्था देखिएको छ।

अमेरिकाले विगतका दशकमा एसियातर्फ सरेको चिप उत्पादन पुनः स्वदेश फर्काउने (रि–शोरिङ) रणनीति अघि बढाएको छ। तर कामदार अभावसँगै तामा, स्टिल र सिमेन्टजस्ता निर्माण सामग्रीको मूल्य वृद्धिले प्लान्ट निर्माणको लागत पनि उल्लेखनीय रूपमा बढाएको छ।

यी परियोजनालाई राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आर्थिक तथा औद्योगिक रणनीतिको महत्वपूर्ण हिस्सा मानिएको छ। तर बढ्दो लागत र दक्ष जनशक्ति अभावले सरकारी अनुदानको प्रभावकारितामाथि समेत प्रश्न उठ्न थालेको छ।

प्रतिवेदनले प्रविधि क्षेत्रमा देखिएको अर्को विरोधाभास पनि औँल्याएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा तीव्र लगानी भइरहेका बेला सफ्टवेयर तथा प्रविधिका अन्य क्षेत्रमा ठूलो संख्यामा रोजगारी कटौती भइरहेको छ।

रोजगारी विश्लेषण गर्ने कम्पनी च्यालेन्जर, ग्रे एन्ड क्रिसमसका अनुसार यस वर्ष मात्रै एआईसँग सम्बन्धित करिब १ लाख २ हजार रोजगारी कटौती भएका छन्। तर चिप निर्माणजस्तो जटिल उत्पादन क्षेत्रमा भने दक्ष जनशक्तिको अभाव झन् गहिरिँदै गएको छ।

प्रतिवेदनअनुसार २०३० सम्म रिक्त रहने पदमध्ये ७४ प्रतिशत उत्पादन र ६० प्रतिशत इन्जिनियरिङसँग सम्बन्धित हुनेछन्। हाल गरिएको सर्वेक्षणमा करिब तीन चौथाइ रोजगारदाताले दक्ष इन्जिनियर भर्ना गर्न अत्यन्त कठिन भइरहेको बताएका छन्।

यसको प्रमुख कारण अमेरिकामा इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीमध्ये केवल तीन प्रतिशत मात्र चिप उद्योगमा प्रवेश गर्नु हो। अधिकांश प्रतिभाशाली युवाहरू उच्च तलब, आकर्षक सुविधा र तीव्र करियर विकासको अवसरका कारण सफ्टवेयर विकास तथा एआई क्षेत्रमा आकर्षित भइरहेका छन्।

सन् २०२२ मा पारित ‘चिप्स एन्ड साइन्स एक्ट’ अन्तर्गत अमेरिकाले सन् २०२७ सम्म जनशक्ति विकासका लागि नेशनल साइन्स फाउन्डेशनमार्फत २० करोड डलर विनियोजन गरेको छ। यो रकम नेशनल नेटवर्क फर माइक्रोइलेक्ट्रोनिक्स एजुकेशनमार्फत परिचालन भइरहेको छ।

यद्यपि, विज्ञहरूका अनुसार यो रकम पर्याप्त छैन। उनीहरूले विश्वविद्यालयहरूमा सेमिकन्डक्टरसम्बन्धी पाठ्यक्रम विस्तार, उद्योगसँग सहकार्यमा तालिम कार्यक्रम सञ्चालन तथा विद्यार्थीलाई प्रारम्भिक चरणदेखि नै हार्डवेयर र चिप उद्योगतर्फ आकर्षित गर्ने नीति आवश्यक रहेको बताएका छन्।

सेमिकन्डक्टर सामान्यतया सिलिकनजस्ता पदार्थबाट बनाइने विशेष सामग्री हो, जसले निश्चित अवस्थामा विद्युत् प्रवाह गर्छ र निश्चित अवस्थामा रोक्छ। यही गुणका कारण यसमा अर्बौं सूक्ष्म ट्रान्जिस्टर राख्न सकिन्छ, जसले आधुनिक इलेक्ट्रोनिक उपकरणहरूको ‘मस्तिष्क’को काम गर्छ।

स्मार्टफोन, ल्यापटप, विद्युतीय सवारीसाधन, मेडिकल उपकरण, औद्योगिक रोबोटदेखि विशाल डेटा सेन्टरसम्म सबै प्रविधि चिपमा निर्भर छन्। आजको युगमा चिप व्यापारिक वस्तु मात्र नभई राष्ट्रिय सुरक्षा, कृत्रिम बुद्धिमत्ता, क्लाउड कम्प्युटिङ, आधुनिक रक्षा प्रणाली तथा उच्च प्रविधिको आधारस्तम्भका रूपमा स्थापित भएको छ।

यही कारण अमेरिकाले एसियामाथिको निर्भरता घटाएर घरेलु उत्पादन विस्तार गर्न अर्बौं डलर लगानी गरिरहेको छ।

तर दक्ष जनशक्तिको अभाव समाधान गर्न नसके यो महत्वाकांक्षी रणनीति अपेक्षित रूपमा सफल नहुन सक्ने चेतावनी प्रतिवेदनले दिएको छ।

गणेश नेपालीको अन्तिम वचन: ‘दाइ, बाबा-मम्मीलाई राम्रो गर्नुस्…’

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका २५ वर्षीय गणेश नेपालीका दाइ मदन नेपालीले भाइसँग भएको अन्तिम संवाद सार्वजनिक गर्दै भावविह्वल बनेका छन्। वीर अस्पतालमा उपचाररत गणेशको निधन हुनुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै मदनले भाइले अन्तिम क्षणसम्म आफू निर्दोष रहेको दोहोर्‍याएको बताएका हुन्।

मुगुको सोरु गाउँपालिका–१ का स्थायी बासिन्दा गणेश नेपाली पछिल्लो समय भक्तपुरको कमलविनायकमा बस्दै ‘पठाओ’ चालकका रूपमा काम गर्दै आएका थिए। मदनका अनुसार गणेशको जीवन सामान्य संघर्षमै बितिरहेको थियो र मोटरसाइकलको किस्ता तिर्न दैनिक बिहानैदेखि रातिसम्म काम गर्थे।

मदनले घटनाअघिको बिहान सम्झिँदै भने, ‘पर्सि-निकपर्सि बाइकको किस्ता तिर्ने दिन थियो, त्यही भएर मैले नै बिहान उज्यालो हुनेबित्तिकै उठाएर पठाओ गर्न जाऊ भनेर पठाएको थिएँ। अरूलाई डिस्टर्ब नहोस् भनेर उसले बाइक स्टार्ट नगरी रोडमा डोर्‍याएर लगेको थियो। बिहान म आफैँले बनाएको सिमी र खुट्टाको मासु खान पनि नपर्खिई ऊ काममा निस्किएको थियो।’

उनका अनुसार घटनाको केही घण्टाअघि मात्रै दाजुभाइबीच सामान्य पारिवारिक कुराकानी भएको थियो। अघिल्लो रात गणेश आफैँले खसीको खुट्टा किनेर ल्याएको र खाना बनाएर खान आग्रह गरेको स्मरण गर्दै मदनले भने, ‘ऊ राति मासु लिएर आएको थियो। मलाई ‘दाइ उठ्नुस् न, बनाउनू’ भन्यो। मैले ‘भयो, छोड’ भनेँ। उसले त्यही भात खाएर सुत्यो।’

बिहान आफैले भाइलाई काममा जान सम्झाएको उनले बताए। ‘मैले भनेँ, ‘गणेश उज्यालो भयो। बाइकको किस्ता बुझाउने दिन आउँदै छ। पठाओ गर्न जाऊ।’ ऊ जुरुक्क उठ्यो, बाइक निकाल्यो। छिमेकीलाई आवाजले दुःख नहोस् भनेर सडकसम्म डोर्‍याएर लगेपछि मात्रै स्टार्ट गरेको थियो।’

दिउँसो करिब साढे दुई बजे प्रहरीबाट आएको फोनले परिवारमा बज्रपात भएको मदनले सुनाए। उनले भने, ‘पुलिसको नम्बरबाट फोन आयो। ‘तपाईंको मान्छेले पेट्रोल छर्केर आगो लगाउनुभएको रहेछ, वीर अस्पताल आउनुस्’ भन्नुभयो। म तीन बजे अस्पताल पुगेँ।’

अस्पताल पुग्दा गणेश बोल्न सक्ने अवस्थामा रहे पनि निकै कमजोर रहेको मदनले बताए। उनले भाइसँग भएको अन्तिम संवाद सम्झिँदै भक्कानिँदै भने, ‘उसको बोली अलिअलि फुटिरहेको थियो। उसले दुई-चार शब्द मात्रै बोल्न सक्यो। ‘दाइ, बाबा-मम्मीलाई राम्रो गर्नुस्’ भन्यो। त्यसपछि ‘दाइ, मेरो गल्ती थिएन है, दाइ मेरो गल्ती थिएन है’ भनेर दुई पटक दोहोर्‍यायो।’

मदनका अनुसार आफूले ‘के भएको हो?’ भनेर सोध्दा गणेशले घटनाको छोटो संकेत मात्र गर्न सके। उनले भने, ‘उसले ‘मेरो गल्ती थिएन, त्यो ह्वील लक लायो, ह्वील लक लाउँदा–लाउँदै ट्राफिक आएर…’ यति मात्रै भन्न सक्यो। ‘ट्राफिक’ र ‘ह्वील लक’ भन्ने शब्द बोलेपछि उसको बोली बन्द भयो।’

गम्भीर जलनका कारण वीर अस्पतालमा उपचाररत गणेश नेपालीको उपचारकै क्रममा निधन भएको छ। उनको मृत्युपछि परिवार शोकमा डुबेको छ भने घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

गणेश नेपालीको मृत्युपछि बालेन सरकार घेराबन्दीमा, रास्वपा सांसदहरूनै आक्रामक

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सत्ता सम्हालेपछि ‘सुशासन’, ‘छिटो निर्णय’ र ‘परिणाममुखी प्रशासन’लाई मुख्य नारा बनायो।

सरकारको पहिलो १०० दिने कार्ययोजनामा पनि अव्यवस्थित बसोबासी तथा सुकुम्बासी व्यवस्थापनलाई प्राथमिकताका साथ समेटियो। तर कार्यान्वयनको चरणमा पुगेपछि यही विषय अहिले सरकारकै लागि सबैभन्दा ठूलो राजनीतिक, सामाजिक र नैतिक चुनौती बनेको छ।

काठमाडौं उपत्यकाका नदी किनारका बस्ती हटाउने अभियान, सयौं परिवारलाई होल्डिङ सेन्टरमा राख्ने प्रक्रिया, त्यसपछि उनीहरूलाई स्थायी व्यवस्थापन नगरी हटाउन खोजिएको विवाद तथा हालै आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाइदिएको छ।

अहिले सरकारमाथि विपक्षी दलले मात्रै होइन, सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैबाट पनि सार्वजनिक रूपमै असन्तुष्टिका ज्वारभाटा उठ्न थालेका छन्। पार्टीका सांसदहरूले सामाजिक सञ्जालमार्फत सरकारलाई नै आत्मसमीक्षा गर्न आग्रह गरेका छन्।

रास्वपाकी सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्बासी व्यवस्थापन गर्ने क्रममा अपनाएको शैलीप्रति खुला असन्तुष्टि जनाएकी छन्। उनका अनुसार सरकारले १०० दिने कार्यसूचीको बुँदा कार्यान्वयन गर्ने क्रममा सबैलाई एउटै ढंगले व्यवहार गर्‍यो, जसले गर्दा कमजोर र संवेदनशील वर्ग थप पीडित बने।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् कि रोग, भोक र पीडामा बगेको आँसु झुटो हुँदैन। दूध चुसाइरहेकी आमा, सुत्केरी महिला, वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समेत एउटै व्यवहार गरिनु गलत भएको भन्दै उनले सदनदेखि सम्बन्धित निकायसम्म पटक–पटक ध्यानाकर्षण गराए पनि अपेक्षित सुनुवाइ नभएको गुनासो गरेकी छन्।

उनको भनाइमा सरकारले प्रशासनिक निर्णय त गर्‍यो, तर त्यसको मानवीय पक्षलाई पर्याप्त महत्व दिएन। उनी सरकारकै सांसद भए पनि सार्वजनिक रूपमा यस्तो टिप्पणी आउनुलाई धेरैले सरकारभित्र बढ्दो असन्तुष्टिको संकेतका रूपमा हेरेका छन्।

रञ्जु दर्शनाले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको मृत्युलाई एउटा व्यक्तिगत घटनाका रूपमा मात्र नहेर्न आग्रह गरेकी छन्।

उनका अनुसार सरकारले उपचार खर्च व्यहोरेर मात्रै आफ्नो जिम्मेवारी पूरा गरेको मान्न मिल्दैन। बरु एउटा युवा किन आफैँलाई आगो लगाउने निर्णयसम्म पुग्यो भन्ने प्रश्नको उत्तर खोज्नु राज्यको कर्तव्य हो।

उनले लेखेकी छन् कि सरकारले गणेश नेपाली किन त्यस्तो अवस्थामा पुगे भन्ने खोजी गरेर त्यसबाट आफ्नो नीति र कार्यशैली सुधार्नुपर्ने आवश्यकता छ।

उनले अझ अगाडि बढेर यो समस्या एउटा व्यक्तिको मात्रै नभई संघर्षरत लाखौं नेपाली युवाको प्रतिनिधि पीडा भएको उल्लेख गरेकी छन्।

उनको भनाइमा धेरै युवाले हरेक दिन ‘अब सकिँदैन, बाँचेर के गर्नु’ भन्ने मानसिक अवस्थासँग संघर्ष गरिरहेका छन्। यस्तो अवस्थामा केवल मनोपरामर्शले मात्र समाधान नदिने भन्दै उनले सामाजिक–आर्थिक आधार बलियो बनाउने नीति आवश्यक रहेको बताएकी छन्।

उनका अनुसार मानिसको मनको सबैभन्दा ठूलो सुरक्षा भनेको उसको आधारभूत आवश्यकता पूरा हुनु हो।

रञ्जु दर्शनाले सरकारले छोटो अवधिमा लाखौं रोजगारी सिर्जना गर्न नसक्ने कुरा स्वीकार गरेकी छन्। तर त्यसको अर्थ समाजका सबैभन्दा कमजोर वर्गलाई बेवास्ता गर्न मिल्ने होइन भन्ने उनको तर्क छ।

उनका अनुसार सरकारले तत्कालै आमूल परिवर्तन गर्न नसके पनि श्रमजीवी, गरिब तथा दैनिक ज्यालादारी गरेर जीविका चलाउने वर्गको पीडा कम गर्न भने तत्काल कदम चाल्न सक्छ।

यसलाई उनले सरकारको प्राथमिक जिम्मेवारीका रूपमा प्रस्तुत गरेकी छन्।

रास्वपाका अर्का सांसद गणेश कार्कीले पनि सामाजिक सञ्जालमार्फत सरकार र आफ्नै पार्टीका समर्थकलाई लक्षित गर्दै निकै भावुक अपिल गरेका छन्।

उनले सरकार वा पार्टीको बचाउ गर्ने क्रममा मानवीय जीवनलाई कमजोर बनाउने तर्क नगर्न आग्रह गरेका छन्।

उनले लेखेका छन् कि नियम मानिसका लागि बनाइन्छ, मानिस नियमका लागि होइन। यदि कुनै नियमका कारण मानिस असह्य अवस्थासम्म पुग्न बाध्य हुन्छ भने त्यस्ता नियम पुनरावलोकन गर्नुपर्ने उनको धारणा छ।

उनले स्पष्ट शब्दमा भनेका छन्, यदि मान्छे र नियममध्ये एउटा रोज्नुपरे आफू मान्छेलाई रोज्नेछु।

गणेश कार्कीले नेपालमा दैनिक औसत १८ जनाले आत्महत्या गर्ने तथ्य उल्लेख गर्दै यसलाई केवल व्यक्तिगत समस्या भनेर बेवास्ता गर्न नहुने बताएका छन्।

उनका अनुसार आत्महत्याका प्रमुख कारण मानसिक स्वास्थ्य समस्या, आवेग तथा सामाजिक–आर्थिक दबाब हुन्। समयमै परामर्श, संवाद, सचेतना र सहयोग उपलब्ध गराउन सके धेरै घटना रोक्न सकिने उनको विश्वास छ।

उनले आत्महत्या रोकथामलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउन आग्रह गर्दै राजनीतिक बहसभन्दा माथि उठेर नागरिकको जीवन र मानसिक स्वास्थ्यबारे गम्भीर हुन सरकारलाई सुझाव दिएका छन्।

पछिल्ला केही दिनयता सुकुम्बासी व्यवस्थापनका विषयमा रास्वपाका विभिन्न नेताहरूले पनि असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

यसअघि पार्टीकी प्रमुख सचेतक क्रान्तिशिखा धितालले समेत सरकारले अपनाएको कार्यशैली वाचापत्रअनुसार नभएको बताएकी थिइन्। अन्य केही सांसदहरूले पनि सामाजिक सञ्जाल तथा सार्वजनिक कार्यक्रममा सरकारलाई मानवीय दृष्टिकोण अपनाउन सुझाव दिएका थिए।

अब रञ्जु दर्शना र गणेश कार्कीजस्ता सांसदहरूको सार्वजनिक टिप्पणीले यो असन्तुष्टि व्यक्तिगत नभई पार्टीभित्र फैलँदै गएको संकेत दिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सरकार गठनसँगै सुशासन, पारदर्शिता र जनमुखी प्रशासनको प्रतिबद्धता व्यक्त गरेका थिए। तर अहिले सुकुम्बासी व्यवस्थापन, विस्थापित परिवारको अवस्था, होल्डिङ सेन्टरको विवाद तथा गणेश नेपालीको मृत्युले सरकारको प्रशासनिक क्षमता मात्र होइन, मानवीय संवेदनशीलताको पनि परीक्षा लिइरहेको छ।

राजनीतिक रूपमा विपक्षीको आलोचना सरकारले सामना गर्न सक्छ। तर आफ्नै दलका सांसदहरू सार्वजनिक रूपमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाउन थालेपछि त्यो राजनीतिक चुनौती मात्र रहँदैन, सरकारको नैतिक विश्वसनीयतासँग पनि जोडिन्छ।

यही कारण अहिले बालेन सरकारमाथि मानवीय संवेदनशीलता, सामाजिक न्याय र नागरिकको गरिमासँग जोडेर कार्यान्वयन गर्ने दबाब बढ्दै गएको विश्लेषकहरू बताउँछन्।

यदि सरकारले सुकुम्बासी व्यवस्थापन, कमजोर वर्गको संरक्षण र मानसिक स्वास्थ्यजस्ता विषयमा शीघ्र सुधारात्मक कदम चाल्न सकेन भने ‘परिणाममुखी सरकार’ भन्ने उसको दाबीमाथि थप प्रश्न उठ्ने सम्भावना रहनेछ।

आत्मदाह प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा निधन

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।

गम्भीर अवस्थामा वीर अस्पतालमा भर्ना गरिएका नेपालीको सघन उपचारका बाबजुद ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार उपचारका क्रममा नेपालीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनको मृत्यु भएको हो। उनी हिजोदेखि वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरको सहायतामा उपचाररत थिए।

वीर अस्पतालले यसअघि पत्रकार सम्मेलन गरी गणेश नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको र जुनसुकै बेला थप जटिलता आउन सक्ने जनाएको थियो। उपचारमा संलग्न चिकित्सकहरूले उनको शरीरमा लागेको गम्भीर जलनका कारण अवस्था निकै संवेदनशील रहेको र निको हुने सम्भावना अत्यन्त चुनौतीपूर्ण रहेको बताएका थिए।

अस्पतालका अनुसार नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग आगोले जलेको थियो। विशेषगरी अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुगेकाले उपचार निकै कठिन बनेको थियो। जलनका कारण श्वासप्रश्वास प्रणाली प्रभावित भएपछि उनलाई बर्न आइसियुमा राखेर निरन्तर निगरानीसहित उपचार गरिएको थियो।

उनको उपचारका लागि वीर अस्पतालले प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष चिकित्सकीय टोली परिचालन गरेको थियो। टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू संलग्न थिए।

स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारीसमेत गरिएको थियो। तर स्वास्थ्य अवस्था स्थानान्तरण गर्न सक्ने अवस्थामा नरहेकाले उनलाई विदेश लैजान सम्भव नभएको अस्पतालले जनाएको थियो।

चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद अन्ततः गणेश नेपालीको उपचारकै क्रममा निधन भएको हो। घटनाबारे प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

चार अध्यादेश शुक्रबारदेखि निष्क्रिय हुँदै

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले गत वैशाखमा जारी गरेका आठमध्ये चार अध्यादेश संसदबाट समयमै पारित हुन नसक्दा शुक्रबारदेखि स्वतः निष्क्रिय हुने भएका छन्।

संविधानले तोकेको ६० दिनभित्र संघीय संसदका दुवै सदनबाट स्वीकृत हुन नसकेपछि ती अध्यादेश स्वतः खारेज हुने संवैधानिक व्यवस्था छ।

सरकारले गत वैशाख १७ देखि २२ गतेसम्म विभिन्न क्षेत्रमा सुधार गर्ने उद्देश्यसहित आठ वटा अध्यादेश जारी गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ती अध्यादेश जारी गरेका थिए भने २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रियसभामा टेबुल गरिएको थियो।

नेपालको संविधानको धारा ११४ अनुसार संसदमा पेस भएको अध्यादेश ६० दिनभित्र दुवै सदनबाट पारित भई प्रतिस्थापन विधेयकका रूपमा ऐनमा रूपान्तरण हुनुपर्छ। अन्यथा अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था रहेको छ। यही संवैधानिक प्रावधानअनुसार शुक्रबारदेखि चार अध्यादेशको कानुनी अस्तित्व समाप्त हुने भएको हो।

निष्क्रिय हुने अध्यादेशमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ रहेका छन्। यी अध्यादेशमाथि प्रमुख विपक्षी दलहरूले असहमति जनाउँदै आएका कारण सरकारले तिनलाई अघि नबढाई होल्डमा राखेको थियो।

यद्यपि सरकारले ल्याएका अन्य चार अध्यादेश भने समयमै विधेयकका रूपमा संसदबाट पारित भई ऐनमा रूपान्तरण भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो। प्रमाणीकरणसँगै ती विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउने बाटो खुलेको छ।

प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक तथा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी संशोधन विधेयक पारित गर्ने प्रस्ताव राखेका थिए। प्रतिनिधिसभाले चारवटै विधेयक पारित गरेको थियो।

राष्ट्रियसभाले पनि असार २३ गते ती विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो। समितिले असार २४ गते नै दफावार छलफल सम्पन्न गरी प्रतिवेदन तयार पारेपछि सोही दिन राष्ट्रियसभाबाट पनि विधेयक पारित भएका थिए। त्यसपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै ती चार अध्यादेश ऐनमा रूपान्तरण भएका छन्।

सरकारले ल्याएका आठ अध्यादेशमध्ये आधा मात्र कानुनका रूपमा रूपान्तरण हुन सफल भएका छन् भने बाँकी चार अध्यादेश संवैधानिक समयसीमा कटेपछि स्वतः निष्क्रिय हुने अवस्थामा पुगेका छन्।

यसलाई सरकारले अघि सारेका केही महत्वपूर्ण कानुनी तथा संस्थागत सुधारका प्रस्ताव तत्कालका लागि रोकिएको रूपमा पनि हेरिएको छ।

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका नेपालीको अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको वीर अस्पतालले जनाएको छ।

शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै अस्पतालका चिकित्सकहरूले गणेश नेपालीको उपचार निरन्तर जारी रहे पनि अवस्था स्थिर नभएको र अझै केही भन्न सकिने अवस्थामा नरहेको जानकारी दिएका हुन्।

अस्पतालका अनुसार उनको शरीरमा गम्भीर रूपमा आगोले क्षति पुर्‍याएकाले चिकित्सकहरूको निगरानीमा सघन उपचार भइरहेको छ। स्वास्थ्य अवस्था अत्यन्त संवेदनशील रहेकाले कुनै पनि बेला जटिलता आउन सक्ने चिकित्सकहरूको भनाइ छ।

पत्रकार सम्मेलनमा चिकित्सकहरूले भने, ‘उहाँको अवस्था अझै पनि केही भन्न सक्ने अवस्थामा छैन। कुनै पनि समयमा उहाँको अवस्था बिग्रन सक्छ।’

बिहीबार दिउँसो राहदानी विभागको ३ नम्बर गेट अगाडि गणेश नेपालीले आफूले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएपछि आगो लगाएका थिए। घटनास्थलमा रहेका प्रहरी र स्थानीयले तत्काल आगो निभाएर उनलाई उद्धार गरेका थिए। त्यसपछि काठमाडौं महानगरपालिकाको सवारीमार्फत उपचारका लागि वीर अस्पताल ल्याइएको थियो।

घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने अस्पतालले बिरामीको अवस्थालाई ध्यानमा राख्दै आवश्यक सबै उपचार भइरहेको जनाएको छ।

तस्वीरहरू:

धोबीखोलामा हाम फालेकी महिलाको शव बागमती नदीमा फेला [फोटो-फिचर]

काठमाडौं। काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खोजी अभियानका क्रममा बागमती नदीबाट शव निकालिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हाम फालेको भन्ने सूचना प्राप्त भएपछि तत्काल नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। त्यसपछि बागमती नदीमा खोजी कार्य सुरु गरिएको थियो।

खोजीका क्रममा सशस्त्र प्रहरी बलको दङ्गा नियन्त्रण रेजिमेन्ट, कीर्तिपुरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित कुमारी क्लब नजिक बागमती नदीबाट महिलाको शव फेला पारेको हो।

प्रहरीका अनुसार हालसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन।

शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तस्वीरहरू:

दलाई लामाकाे जन्माेत्सवले तरङ्ग, के हाेला नेपाल-चीन सम्बन्ध ?

काठमाडाै‌ं । हिंसात्मक ढंगले नेपालमा सत्ता परितर्वन गरेको जेनजी विद्रोहमा टीओबीको घुसपैठ थियो । यो प्रमाणित तथ्य हो । टीओबी तिब्बतलाई चीनबाट स्वतन्त्र बनाउन चाहन्छ ।

यो संगठन दलाई लामाको हो । दलाई लामाको यही संगठनका युवाहरुले गत वर्षको भदौ २३ र २४ गते नेपालको काठमाडौंमा भएको जेनजी विद्रोहमा घुसपैठ गरे ।

हालका गृहमन्त्री सुधन गुरुङलाई टीओबी निकट मानिन्छन् । कतिपयले उनलाई टीओबी ग्याङका नेता पनि भन्ने गरेका छन् । र, नेपालका पुराना राजनीतिक दलहरु जेनजी विद्रोह गराउन अमेरिका र भारतको धर्मशालामा बस्दै आएका निर्वासित तिब्बती धर्म गुरु दलाई लामा पनि जिम्मेवार रहेको आरो लगाउँछन् ।

दलाई लामा धर्म गुरु भए पनि अमेरिकाको लागि त्यहाँको गुप्तचर निकाय सीआईएको एजेन्टको रुपमा काम गरेको विवरण यसअघि नै सार्वजनिक भएको थियो ।

उनले अमेरिकाको लागि काम गर्ने गरेको बुझाई चीनको छ र केही वर्षअघि लामामाथि बाल यौन दुराचारको आरोप पनि लागेको थियो ।

भारतको धर्मशालामा बसेर चीन विरुद्ध गतिविधि गर्ने र काठमाडौंको बौद्ध, स्वयम्भू, जावलाखेल लगायत क्षेत्रमा रहेका तिब्बती शरणार्थीहरूलाई चीनविरुद्ध प्रदर्शन गर्न लगाउने आरोप उनीमाथि लाग्ने गरेको छ ।

संविधान निर्माण हुँदै गर्दा एकपछि अर्को तिब्बती शरणार्थीहरुले आत्मदाह गरेको घटनालाई चीनले दलाई लामाले उक्साएको अथ्याउँथ्यो ।

उनै दलाई लामाको हालै काठमाडौंको नागार्जुनस्थित नाम्ग्याल विद्यालयमा ९१औँ जन्मजयन्ती मनाएको खुल्यो । जबकि, नेपालका लागि चिनियाँ राजदूत माओमिङले दलाई लामाको जन्मजयन्ती मनाउन नदिन भनेका थिए ।

स्रोतको दाबीमा दलाई लामाको जन्मजयन्ती मनाउन दिए नेपालले एक चीन नीतिको उल्लघंन गरेको मानिने चेतावनी दिएका थिए । तर, विभिन्न देशका राजदूत सहभागी भएर लामाको जन्मजयन्ती मनाएको विषय बाहिरियो ।

यसले नेपालमा हलचल मच्चिएको छ । नेपालले के एक चीन नीतिको परराष्ट्र नीति परिवर्तन गरेको हो ? चीनका लागि पूर्वनेपाली राजदूतले बालेन सरकारसँग गम्भीर प्रश्न गरेका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विरोध जनाएका छन् । उनीहरुले बालेन सरकारले एक चीन नीतिप्रतिको प्रतिबद्धता दृढतापूर्वक पालना गर्नुपर्ने बताएका छन् ।

यदि बालेन सरकारकै सहमतिमा उक्त कार्यक्रम भएको हो भने त्यसले नेपाल–चीन सम्बन्धमा गलत सन्देश जाने उनीहरूको भनाइ छ ।

यस्तै संसदमा पनि दलाई लामाको जन्मोत्सव मनाएको विषयलाई लिएर बालेन सरकारको चर्को विरोध भएको छ ।

एमाले प्रमुख सचेतक ऐन महरदेखि नेकपा सांसद रमेश मल्ले विरोध गरे । उनीहरुले यसबारे बालेन सरकारको जवाफ मागेका छन् ।

काे हुन् दलाई लामा ?

लामा तिब्बती बौद्ध धर्मका सर्वोेच्च आध्यात्मिक नेता हुन् । उनलाई धार्मिक गुरु मात्र होइनन्, तिब्बती जनताको सांस्कृतिक पहिचान र अधिकारको आवाजका रूपमा पनि चिनिन्छन् ।

वर्तमान दलाई लामा १४औँ दलाई लामा हुन् । उनको वास्तविक नाम तेन्जिन ग्यात्सो हो । उनको जन्म सन् १९३५ जुलाई ६ मा उत्तर–पूर्वी तिब्बतको आम्दो क्षेत्रको टाक्त्सेर गाउँमा एक सामान्य किसान परिवारमा भएको थियो । जन्मदा उनको नाम ल्हामो थोन्दुप राखिएको थियो ।

तिब्बती बौद्ध परम्पराअनुसार उनी दुई वर्षको उमेरमै १३औँ दलाई लामाको पुनरअवतारका रूपमा चिनिएका थिए ।

त्यसपछि उनलाई धार्मिक शिक्षाका लागि ल्हासा लगियो । त्यहाँ उनले बौद्ध दर्शन, तर्कशास्त्र, ध्यान र धर्मशास्त्रको लामो समय अध्ययन गरे ।

दलाई लामा शब्दको अर्थ ज्ञानको महासागर भन्ने हुन्छ । तिब्बती बौद्ध धर्ममा दलाई लामालाई करुणाका बोधिसत्व अवलोकितेश्वरको अवतार मानिन्छ । प्रत्येक दलाई लामा अघिल्लो दलाई लामाकै पुनर्जन्म भएको विश्वास गरिन्छ ।

सन् १९५० मा चीनले तिब्बतमाथि नियन्त्रण विस्तार गरेपछि तिब्बतको राजनीतिक अवस्था बदलियो । त्यसबेला दलाई लामा किशोर अवस्थामा थिए । परिस्थितिका कारण उनले १५ वर्षकै उमेरमा राजनीतिक नेतृत्वको जिम्मेवारी पनि सम्हाल्नुपरेको थियो ।

सन् १९५९ मा चीनविरुद्धको तिब्बती विद्रोह असफल भएपछि दलाई लामा हजारौँ अनुयायीसहित भारत पुगे । त्यसयता उनी भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन् । त्यहीँबाट उनले तिब्बती निर्वासित समुदायको नेतृत्व गर्दै आएका छन् । अर्थात् उनले समानान्तर सरकार चलाइरहेका छन् ।

त्यही भएर धर्मशालालाई अहिले तिब्बती निर्वासित समुदायको प्रमुख केन्द्र मानिन्छ । त्यहाँ निर्वासित प्रशासन, धार्मिक संस्था र सांस्कृतिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन् ।

दलाई लामाले लामो समयसम्म तिब्बतको राजनीतिक नेतृत्व पनि सम्हाले । तर, सन् २०११ मा उनले राजनीतिक अधिकार निर्वाचित तिब्बती नेतृत्वलाई हस्तान्तरण गरे । त्यसपछि उनी पूर्ण रूपमा आध्यात्मिक भूमिकामा केन्द्रित भएका छन् ।

खासगरी पश्चिमा समुदायले लामालाई विश्वभर शान्ति, करुणा, सहिष्णुता, अन्तरधार्मिक सद्भाव र मानव मूल्यको प्रवद्र्धनका लागि चिन्छन् । र, उनलाई सन् १९८९ मा शान्तिका लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

तिब्बतको प्रश्नमा अहिंसात्मक संघर्ष र विश्व शान्तिप्रतिको योगदानको सम्मानस्वरूप उनलाई उक्त पुरस्कार दिइएको थियो ।
दलाई लामाले हिंसाको सधैँ विरोध गरेका छन् । चीनसँगको विवाद समाधान संवाद र अहिंसामार्फत हुनुपर्ने उनको धारणा रहँदै आएको छ ।

यद्यपि चीनले भने उनलाई पृथकतावादी नेताका रूपमा चित्रण गर्दै आएको छ । बेइजिङले तिब्बत चीनको अभिन्न अंग भएको दाबी गर्छ । दलाई लामाले भने वास्तविक स्वायत्तताको पक्षमा आवाज उठाउँदै आएका छन् ।

हाल दलाई लामाको उत्तराधिकारी को हुने भन्ने विषय फेरि अन्तर्राष्ट्रिय बहसको केन्द्रमा छ । उनले आफ्नो पुनरअवतार परम्पराअनुसार नै हुने र त्यसको पहिचान गर्ने अधिकार गादेन फोड्राङ ट्रस्टसँग मात्रै रहने स्पष्ट गरिसकेका छन् ।

यसको ठीक विपरीत चीनले दलाई लामाको पुनरअवतारलाई आफ्नो कानुनी प्रक्रियाअनुसार स्वीकृत गरिनुपर्ने बताउँदै आएको छ । यही विषय भविष्यमा चीन र तिब्बती निर्वासित समुदायबीचको प्रमुख विवाद बन्ने अनुमान गरिएको छ ।

तिब्बती परम्पराअनुसार नयाँ दलाई लामाको खोजी निकै जटिल प्रक्रिया हो । उच्च तहका लामाहरूले विभिन्न धार्मिक संकेत, दर्शन, सपना तथा अन्य परम्परागत विधिका आधारमा पुनर्जन्म लिएको बालकको खोजी गर्छन् । त्यसपछि लामो परीक्षण र धार्मिक शिक्षापछि मात्रै नयाँ दलाई लामालाई औपचारिक मान्यता दिइन्छ ।

दलाई लामाले आफूलाई प्रायः साधारण बौद्ध भिक्षु भनेर चिनाउने गर्छन् । तर, विश्वभर उनका करोडौँ अनुयायी छन् । उनले दर्जनौँ पुस्तक लेखेका छन् । शिक्षा, विज्ञान, वातावरण संरक्षण, मानसिक स्वास्थ्य र नैतिकताका विषयमा पनि उनले निरन्तर विचार राख्दै आएका छन् ।

विश्वका धेरै राष्ट्र प्रमुख, धार्मिक अगुवा, वैज्ञानिक तथा शिक्षाविद्सँग उनले संवाद गरेका छन् । विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधिसमेत प्रदान गरेका छन् ।

९१ औँ जन्मजयन्ती मनाइसकेका दलाई लामा अझै पनि सार्वजनिक कार्यक्रम, धार्मिक प्रवचन र विश्व शान्तिसम्बन्धी गतिविधिमा सक्रिय देखिन्छन् । उनका अनुयायीहरूले उनलाई तिब्बती पहिचान, करुणा र अहिंसाको सबैभन्दा ठूलो प्रतीक मान्छन् ।

तिब्बतको राजनीतिक भविष्य जस्तोसुकै भए पनि दलाई लामाको नाम विश्व इतिहासमा शान्ति, सहिष्णुता, धार्मिक स्वतन्त्रता र मानवीय मूल्यका पक्षधर नेताका रूपमा सधैँ स्मरण गरिने विश्लेषकहरूको भनाइ छ ।

प्रश्न मरेको हो?

काठमाडौं। मानिसलाई पृथ्वीका अन्य जीवभन्दा फरक बनाउने सबैभन्दा ठूलो शक्ति के हो? धेरैले उत्तर दिन्छन्- विवेक वा बुद्धि। कसैको फरक मत होला। कसैले भन्लान्- भाषा। कसैले चेतना। तर सबैभन्दा अघि एउटा कुरा आउँछ, त्यो हो- प्रश्न गर्ने क्षमता।

मानिसले प्रश्न गर्न जानेकै कारण उसले आफूलाई, प्रकृतिलाई, समाजलाई र ब्रह्माण्डलाई बुझ्ने प्रयास गर्‍यो। यदि मानिसले कहिल्यै ‘किन?’ नसोधेको भए आगोको प्रयोग हुने थिएन, खेतीको विकास हुने थिएन, विज्ञान जन्मिने थिएन, लोकतन्त्र स्थापित हुने थिएन र आजको आधुनिक सभ्यता पनि निर्माण हुने थिएन। विचार गर्नुहोस् त, यदि प्रश्न नै नभएको भए?

यो त पक्का छ, इतिहासलाई गहिरिएर हेर्दा एउटा निष्कर्षमा पुगिन्छ, मानव सभ्यता उत्तरबाट होइन, प्रश्नबाट अगाडि बढेको हो।

तर आजको समयलाई हेर्दा एउटा असहज प्रश्न उठ्छ। के प्रश्न मर्दै गएको हो? वा अझ गम्भीर रूपमा भन्ने हो भने, के हामीले प्रश्न गर्न छाडेका हौँ?

सामान्यतया प्रश्नको प्रसङ्ग शिक्षा प्रणालीतिर जोडिन्छ। प्रश्न शिक्षा प्रणालीको मात्र प्रसङ्ग होइन। यो समाजको बौद्धिक स्वास्थ्य जाँच्ने ऐना हो। कुनै समाजमा कति विश्वविद्यालय छन्, कति विद्यालय छन् वा कति पुस्तक प्रकाशित भए भन्नेभन्दा पनि त्यहाँ कति प्रश्न बाँचेका छन् भन्ने कुराले त्यस समाजको वास्तविक स्तर निर्धारण गर्छ।

जहाँ प्रश्न जीवित हुन्छ, त्यहाँ अनुसन्धान जीवित हुन्छ। अनुसन्धान जीवित हुन्छ भने नयाँ विचार जन्मिन्छ। नयाँ विचार जन्मिन्छ भने परिवर्तन सम्भव हुन्छ। तर जहाँ प्रश्न मर्छ, त्यहाँ विचारभन्दा विश्वास बलियो हुन्छ अथवा भनौँ, अन्धविश्वास बलियो हुन्छ। अझ वर्तमान समय सापेक्षित भाषामा भन्दा प्रमाणभन्दा प्रचार शक्तिशाली बन्छ र सत्य नै मर्छ।

आज हामी उत्तरको युगमा छौँ। एउटा सानो मोबाइल फोनले केही सेकेन्डमै संसारभरका लाखौँ उत्तर दिन सक्छ। कृत्रिम बुद्धिमत्ताले लेख लेख्छ, गणित हल गर्छ, अनुसन्धानको सारांश निकाल्छ।यसरी ज्ञान प्राप्त गर्न लाग्ने समय इतिहासमै सबैभन्दा कम भएको छ। तर एउटा विडम्बना पनि यहीँ छ। उत्तर सजिलै पाउने बानीले प्रश्न गर्ने संस्कार कमजोर बनाउँदै लगेको छ। हामी उत्तर खोज्न हतारिन्छौँ, तर प्रश्न सही छ कि छैन भनेर एक निमेष पनि सोच्दैनौँ।

अमेरिकी वैज्ञानिक रिचर्ड फाइनम्यानले विज्ञानको आधार नै सन्देह गर्ने साहस भएको बताएका थिए। उनको विचारमा कुनै पनि कुरालाई कसैले भनेको आधारमा स्वीकार गर्नु विज्ञान होइन। विज्ञान त्यहाँ सुरु हुन्छ, जहाँ मानिसले प्रमाण खोज्छ र प्रश्न उठाउँछ। यही कारण विज्ञानले कहिल्यै अन्तिम सत्यको दाबी गर्दैन। प्रत्येक उत्तरलाई अर्को प्रश्नले चुनौती दिन सक्छ। त्यही भएर त विज्ञानको शक्ति उत्तरमा नभई निरन्तर प्रश्न गर्ने क्षमतामा हुन्छ।

विज्ञानकै प्रसङ्गमा महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए, ‘प्रश्न गर्न कहिल्यै बन्द नगर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’ किनकि प्रश्न गर्ने मानिस परिवर्तन स्वीकार्छ, नयाँ कुरा सिक्छ, आफ्ना विश्वासमाथि पनि पुनर्विचार गर्छ। प्रश्न नगर्ने मानिस भने विस्तारै उत्तरको कैदी बन्छ।

विश्वका उत्कृष्ट शिक्षा प्रणालीहरू आज यही निष्कर्षमा पुगेका छन्। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले जिज्ञासामा आधारित सिकाइलाई आधुनिक शिक्षाको आधार मानेको छ।

युनेस्कोका अनुसार विद्यार्थीलाई उत्तर कण्ठ गराउनु मात्र शिक्षा होइन। उनीहरूलाई प्रश्न गर्न, अनुसन्धान गर्न, प्रमाण खोज्न र आफ्नै निष्कर्ष निकाल्न सक्षम बनाउनु नै वास्तविक शिक्षा हो।

क्रमशः प्रश्न गर्ने संस्कृति मर्दै गएको छ। आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) को अन्तर्राष्ट्रिय विद्यार्थी मूल्याङ्कन कार्यक्रम ‘पिसा-२०२२’ ले पनि महत्त्वपूर्ण तथ्य सार्वजनिक गर्‍यो । प्रतिवेदनअनुसार गणित पढाइँदा आफूले नबुझेको विषयमा नियमित रूपमा शिक्षकसँग प्रश्न गर्ने विद्यार्थीको संख्या औसतमा आधाभन्दा कम छ। यसको अर्थ विद्यार्थीहरू धेरै अवस्थामा नबुझे पनि प्रश्न नगरी बसिरहेका छन्।

नेपालको शिक्षा प्रणालीलाई हेर्दा पनि यही समस्या स्पष्ट देखिन्छ। यहाँ अझै पनि उत्तरलाई प्रश्नभन्दा ठूलो मानिन्छ। परीक्षा उत्तरको हुन्छ, जिज्ञासाको हुँदैन। विद्यार्थीले परिभाषा कण्ठ गर्न सक्छ, तर परिभाषामाथि प्रश्न गर्न सक्दैन। पाठ्यपुस्तकलाई अन्तिम सत्यजस्तो प्रस्तुत गरिन्छ। शिक्षकले बोल्छन्, विद्यार्थी सुन्छन्। तर ‘किन?’ भनेर प्रश्न गरिँदैन।

हाम्रो समाजमा एउटा रोचक विरोधाभास छ। सानो बच्चाले दिनमा सयौँ प्रश्न गर्छ। ऊ हरेक कुरा जान्न चाहन्छ। तर उमेर बढ्दै जाँदा प्रश्न घट्दै जान्छ। यसको मतलब जिज्ञासा सकिएको हो? पक्कै जिज्ञासा हराएको होइन; जिज्ञासालाई दबाइएको हो।

सानो बच्चालाई धेरै अभिभावक अझै पनि भन्छन्, ‘धेरै प्रश्न नगर।’ धेरै शिक्षक भन्छन्, ‘पहिले यो उत्तर बुझ।’ धेरै संस्था भन्छन्, ‘यस्तै चल्दै आएको हो।’ यी यिनै जवाफ हुन्, जसले प्रश्नलाई विस्तारै मृत बनाइरहेका छन्।

दार्शनिक सुकरातले प्रश्नलाई सत्यसम्म पुग्ने सेतु भन्थे। उनले मानिसलाई उत्तर दिएर होइन, प्रश्न सोधेर सिकाए। यही सुकरातीय संवाद पद्धति आज पनि विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूमा प्रयोग गरिन्छ।

यस्तै, लोकतन्त्र पनि प्रश्नमै टिकेको हुन्छ। नागरिकले सरकारलाई प्रश्न गर्छ। पत्रकारले सत्तालाई प्रश्न गर्छ। सरकारलाई नागरिकप्रति जिम्मेवार बनाउन प्रश्न उठ्न जरुरी छ। यदि प्रश्न गर्ने संस्कार कमजोर भयो भने लोकतान्त्रिक धरातल नै कमजोर हुन्छ। लोकतन्त्रमा प्रश्न गर्नु विद्रोह होइन। हरेक नागरिकको धर्म र उत्तरदायित्व हो।

वर्तमान युगलाई सामाजिक सञ्जालले अर्को चुनौती थपेको छ। सूचना यति धेरै छ कि मानिससँग सबै कुरा पढ्ने समय छैन। परिणामस्वरूप मानिस शीर्षक पढेरै निष्कर्ष निकाल्छ। स्रोत जाँच्दैन। तथ्य खोज्दैन। यही कारण गलत सूचना र अफवाह तीव्र गतिमा फैलिन्छन्। खै प्रश्न? ‘सूचना कहाँबाट आयो?’, ‘प्रमाण के हो?’, ‘अर्को पक्ष के भन्छ?’

क्रमशः प्रश्न मर्दै जाँदा समाज भ्रमको भुमरीमा परिरहेको छ।

अन्ततः वर्तमान समयको सबैभन्दा ठूलो चुनौती उत्तरको अभाव होइन। उत्तर प्रशस्त भेटिन्छ। चुनौती प्रश्नको अभाव हो। विद्यालयले विद्यार्थीलाई उत्तर घोकाउने होइन, प्रश्न गर्न सिकाउनुपर्छ। विश्वविद्यालयले अनुसन्धानलाई केन्द्रमा राख्नुपर्छ। अभिभावकले जिज्ञासालाई विकासको आधार मान्नुपर्छ। राज्यले प्रश्न गर्ने नागरिकलाई लोकतन्त्रको मेरुदण्डका रूपमा स्वीकार गर्नुपर्छ।

इतिहास साक्षी छ, हरेक महान् परिवर्तनको सुरुआत प्रश्नबाट भएको थियो। त्यसैले यदि भविष्य बदल्न चाहन्छौँ भने प्रश्न गर्न सिक्नुपर्छ।

अत: एक पटक आफैँलाई सोध्नुहोस् त, तपाईंभित्रको प्रश्न मरेको त छैन?

अवालको सुझाव : अनुसन्धान विभागलाई सशक्त बनाऔँ

काठमाडौं। नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालयमध्ये कहाँ राख्ने भन्नेभन्दा पनि त्यसलाई प्रभावकारी बनाउने विषयमा ध्यान दिन सरकारलाई आग्रह गरेकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेकी हुन् ।

सरकार परिवर्तनसँगै विभागको संरचना परिवर्तन गर्ने प्रवृत्ति उचित नभएको उनको भनाइ थियो । कानुन निर्माणअघि पर्याप्त छलफल र सबै सरोकारवालाको अपनत्व हुनुपर्नेमा उनले जोड दिइन् ।

उनले भनिन्, ‘सरकार पनि परिवर्तन हुने बित्तिकै यता र उता, जता लगे पनि र जतिवटा विषयहरू फटाफट संसदबाट बहुमतका साथ अनुमाेदन गर्दै गर्दा कतिको गहन छलफल भयो । सबैको अपनत्व भएन कि भएन भन्ने कुरा महत्वपूर्ण हो ।’

कानुन निर्माणमा व्यक्तिको तजबिज हाबी हुन नहुने उनको धारणा थियो ।

‘वास्तवमा विधि र विधानमा व्यक्तिको तजबिजी हावी भयो भने लोकतन्त्र कमजोर हुन्छ,’ उनले भनिन् ।

अवालले राष्ट्रिय अनुसन्धान विभागलाई अत्यन्त संवेदनशील निकायको संज्ञा दिइन् । यसको काम सम्भावित जोखिमबारे पूर्वसूचना संकलन गरी देशलाई सुरक्षित राख्नु रहेको उनको भनाइ थियो ।

उनले भनिन्, ‘राष्ट्रिय अनुसन्धान विभाग भनेको एकदमै संवेदनशील विभाग हो । यदि कहीँ राष्ट्रको विषयमा, राष्ट्रिय विभेदको विषयमा, राष्ट्रको अखण्डताको विषयमा कहीँ कतै षड्यन्त्र हुँदैछ भने यस विभागले पूर्व सूचना दिने र अनुमानित अप्रिय घटनाबाट देशलाई बचाउने हो ।’

प्रधानमन्त्री कार्यालय मातहत राख्ने बहसभन्दा विभागलाई स्रोत, साधन र जनशक्तिले सक्षम बनाउनुपर्नेमा उनले जोड दिइन् ।

‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तरगत राख्ने होडबाजी भन्दा पनि यसलाई कसरी ससक्त पार्न सकिन्छ । कसरी चलायमान गर्न सकिन्छ। स्रोत र साधन कसरी सम्पन्न गर्ने,’ उनले भनिन् ।

सरकारले संवेदनशील निकायहरू प्रधानमन्त्री कार्यालय मातहत राख्दै जाँदा त्यसको औचित्य पनि स्पष्ट गर्नुपर्ने उनले बताइन् ।

गुप्तचरलाई प्रधानमन्त्री कार्यालय मातहत राख्दा नागरिक स्वतन्त्रता जोखिममा पर्छ : सांसद काउचा

काठमाडौं। नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने व्यवस्था पुनः कायम गर्न ल्याइएको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ को कडा विरोध गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै काउचाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने व्यवस्थाले नागरिक स्वतन्त्रता, गोपनीयता र संसदीय निगरानी कमजोर हुने बताइन् ।

उनले भनिन्, ‘अघिल्लो संसदमा राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने विषयमा विगतमा नेपाली कांग्रेस लगायतका सांसदहरूले नै फोन ट्यापिङ, नागरिक स्वतन्त्रता र गोपनीयता हननका विषयहरूमा आपत्ति जनाएको इतिहास छ । राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्ने यो विधेयक विचारणीय छ र पूर्ण विरोध गर्दछु ।’

उनले नियमावली संशोधन गर्दा संसदमा कुनै बहस नभएको र सरोकारवालासँग परामर्श पनि नभएको बताइन् । अहिले ऐन जगाएर संशोधन गर्दै त्यही निर्णयलाई अपरिवर्तनीय बनाउन खोजिएको भन्दै त्यो प्रक्रिया आफैँमा लोकतान्त्रिक नभएको सांसद काउजा बताउँछिन् ।

उनले सबैभन्दा गम्भीर विषय नागरिकको गोपनीयता र स्वतन्त्रताको रहेको बताइन् । राष्ट्रिय अनुसन्धान विभागजस्तो गोप्य सूचना संकलन गर्ने निकाय प्रधानमन्त्री कार्यालय मातहत रहँदा त्यसको दुरुपयोग हुने जोखिम बढ्ने उनको भनाइ थियो ।

‘सबैभन्दा गम्भीर, गोपनीयता र नागरिक स्वतन्त्रताको प्रश्न राष्ट्रिय अनुसन्धान विभाग जस्तो गोप्य सूचना संकलन गर्ने, फोन ट्यापिङ र इन्टरसेप्सनजस्ता संवेदनशील अधिकार राख्ने निकाय जब सधैँ प्रधानमन्त्री कार्यालय मातहत रहन्छ तब त्यसमाथिको संसदीय र न्यायिक निगरानी झन् कमजोर बन्छ,’ उनले बताइन् ।

उनका अनुसार विगतमा यस प्रकृतिको कानुनमाथि छलफल हुँदा प्रमुख विपक्षी दलले नै यसले नागरिकको स्वतन्त्रताको हक कुण्ठित गर्ने, व्यक्तिगत सूचना चुहावट हुने र गोपनीयता भंग हुने आशंका व्यक्त गरेको थियो ।

उनले विभागलाई गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयबीच पटक–पटक सारिएको विगतको अभ्यासले समस्या मन्त्रालयभन्दा पनि राजनीतिक हस्तक्षेपको रहेको तर्क गरिन् । अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण दिँदै काउचाले लोकतान्त्रिक मुलुकमा गुप्तचर निकायमाथि स्वतन्त्र निगरानीको व्यवस्था हुने उल्लेख गरिन् ।

विधेयक यथास्थितिमा पारित गर्न नहुने भन्दै काउचाले सरकारले पुनः व्यापक परामर्श गरेर मात्र अघि बढाउनुपर्ने माग गरिन् ।

राहदानी विभाग अगाडि आत्मदाह गर्न बाध्य बनाउनेमाथि छानबिन गर्न शाहीको माग

काठमाडौं, असार २५ गते । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि बिहीबार एक युवकले आत्मदाहको प्रयास गरेको घटनाले राष्ट्रिय सभागृहसम्म तरंग ल्याएको छ। प्रतिनिधिसभा सदस्य खडकबहादुर शाहीले यस घटनाको उच्चस्तरीय छानबिन माग गर्दै पीडितको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले राहदानी विभागको अगाडि आत्मदाहको प्रयास गर्न बाध्य बनाउने परिस्थितिमाथि गम्भीर प्रश्न उठाए। उनले जरिवाना मानवीय संवेदनशीलतालाई मध्यनजर राखेर मात्र गर्नुपर्नेमा जोड दिँदै कुनै पनि जरिवाना मानव जीवनभन्दा ठूलो नहुने बताए।

यसअघि बिहीबार दिउँसो करिब १:४५ बजे राहदानी विभागको ३ नम्बर गेट अगाडि पठाओ (राइड सेयरिङ) चालक २५ वर्षीय गणेश नेपालीले आफैंलाई पेट्रोल छर्केर आगो लगाएका थिए। उनी मुगु जिल्लाको सोरु गाउँपालिका–१ का स्थायी बासिन्दा हुन् र हाल भक्तपुरमा बसोबास गर्दै आएका थिए।

प्रारम्भिक अनुसन्धानका अनुसार नेपालीले राहदानी बनाउन विभागमा आउँदा आफ्नो मोटरसाइकल नियमविपरीत पार्किङ गरेको भन्दै काठमाडौं महानगर प्रहरीले ह्वील लक लगाएको थियो। सोही कारबाहीबाट मानसिक तनावमा परेका उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएका थिए।

घटनापछि प्रहरीले उनलाई वीर अस्पतालको बर्न युनिटमा पुर्याएको छ। चिकित्सकका अनुसार उनको शरीरको करिब ८५ प्रतिशत भागमा जलन भएको छ र हाल उनी आईसियूमा अचेत अवस्थामा उपचाररत छन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

गाँजा खेती गर्ने बाटो खुल्यो

पोखरा। गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने बाटो खुलेको छ। प्रदेश सभाले बिहीबार सम्बन्धित विधेयक सर्वसम्मत रूपमा पारित गरेसँगै प्रदेशमा कानुनी रूपमा गाँजा खेती गर्न सकिने व्यवस्था लागू हुने भएको हो।

प्रदेश सरकारले संसद्मा दर्ता गराएको मूल विधेयकलाई प्रदेश सभाको अर्थ तथा विकास समितिले लामो छलफल, सुझाव र परिमार्जनपछि संशोधनसहित सभामा प्रस्तुत गरेको थियो। सोही संशोधित विधेयक प्रदेश सभाबाट पारित भएको हो।

विधेयकअनुसार अब सरकारी संयन्त्रमा कम्पनी दर्ता गरी आवश्यक अनुमति लिएपछि मात्रै गाँजा खेती गर्न पाइनेछ। अनुमति लिन लाग्ने दस्तुर, प्रक्रिया र अन्य मापदण्ड भने प्रदेश सरकारले बनाउने नियमावलीमार्फत निर्धारण गर्नेछ। औषधिजन्य र औद्योगिक प्रयोजनका लागि छुट्टाछुट्टै दस्तुर कायम गरिने व्यवस्था गरिएको छ। जारी गरिएको अनुमति पत्रको अवधि पाँच वर्ष रहनेछ र अवधि सकिनुअघि तोकिएको शुल्क बुझाएर नवीकरण गर्नुपर्नेछ।

गाँजा खेतीका लागि प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गरी निश्चित जिल्ला वा स्थानीय तहका विशेष क्षेत्र तोक्नेछ। यसअघि मूल विधेयकमा खाली, बाँझो वा न्यून उत्पादकत्व भएको जमिनमा मात्रै खेती गर्न सकिने व्यवस्था रहेकामा समितिले संशोधन गर्दै विशेष क्षेत्र तोक्ने व्यवस्था समावेश गरेको हो।

खेती गर्न इच्छुक व्यक्ति वा संस्थाले तोकिएको क्षेत्रभित्र रहेको आफ्नै जग्गा वा कम्तीमा पाँच वर्षका लागि भाडा वा लिजमा लिएको जग्गाको विवरण पेश गर्नुपर्नेछ। साथै, सम्बन्धित स्थानीय तहको सिफारिस र उत्पादित गाँजा खरिद गर्ने सुनिश्चितता भएको स्थापित औषधि वा उत्पादनमूलक उद्योगसँग गरिएको सम्झौता पनि आवेदनसँगै संलग्न गर्नुपर्नेछ।

पूर्वसहमति प्राप्त गरेपछि खेती गरिने क्षेत्र सुरक्षित बनाउन अनधिकृत व्यक्तिको प्रवेश रोक्ने गरी बलियो पर्खाल वा तारबार लगाउनुपर्नेछ। आवश्यक परे सीसीटीभीसहितको सुरक्षा पूर्वाधार पनि तयार गर्नुपर्ने व्यवस्था गरिएको छ। यी पूर्वाधार पूरा भएपछि नियमन तथा व्यवस्थापन इकाइले स्थलगत निरीक्षण गरी उद्योगको क्षमता मूल्याङ्कन गर्नेछ र त्यसपछि मात्रै अन्तिम इजाजतपत्र (लाइसेन्स) जारी गर्नेछ।

विधेयकले गाँजा खेतीका लागि आवेदन दिने व्यक्तिमाथि पनि केही सर्त तोकेको छ। लागूऔषधसम्बन्धी कसुरमा सजाय नपाएको हुनुपर्नेछ भने विगत १० वर्षभित्र त्यस्तो कसुरमा सजाय नपाएको स्वघोषणा पनि पेश गर्नुपर्नेछ।

गाँजा खेतीलाई व्यवस्थित र दुरुपयोगमुक्त बनाउन तीन तहको नियमन प्रणालीको व्यवस्था गरिएको छ। मुख्यमन्त्रीको अध्यक्षतामा कृषि, स्वास्थ्य, उद्योग तथा वनमन्त्री, मुख्य सचिव र प्रदेश प्रहरी प्रमुख सदस्य रहने उच्चस्तरीय निर्देशन समिति गठन गरिनेछ। मन्त्रालयअन्तर्गत नवौँ वा दशौँ तहका अधिकृतको नेतृत्वमा गाँजा खेती नियमन तथा व्यवस्थापन इकाइ रहनेछ।

संसदीय समितिले मूल विधेयकमा निर्देशकलाई दिइएको एकल अधिकार हटाउँदै अधिकांश जिम्मेवारी संस्थागत रूपमा नियमन तथा व्यवस्थापन इकाइलाई दिएको छ। इजाजतपत्र जारी गर्ने, नवीकरण गर्ने, खारेज गर्ने तथा अनुगमन र नियमन गर्ने अधिकार यही इकाइमा रहनेछ।

स्थानीय स्तरमा भने वडाध्यक्षको संयोजकत्वमा प्रहरी प्रतिनिधि, स्थानीय तहको कृषि शाखा प्रमुख, कृषक प्रतिनिधि र वडा सचिव सदस्य रहने समिति गठन गरी खेतीको नियमित अनुगमन गरिनेछ।

विधेयकमा गाँजामा पाइने रासायनिक तत्व टेट्राहाइड्रोक्यानाबिनोल (टीएचसी) को मात्रा नियन्त्रणलाई विशेष प्राथमिकता दिइएको छ। औद्योगिक प्रयोजनका लागि उत्पादन गरिने गाँजामा टीएचसीको मात्रा ०.३ प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ।

बोट कटान, भण्डारण, प्रयोग वा बिक्री वितरण गर्नुअघि प्रयोगशालामा अनिवार्य रूपमा परीक्षण गरी टीएचसीको मात्रा प्रमाणित गर्नुपर्ने कानुनी प्रावधान पनि थपिएको छ। यसका लागि प्रदेश सरकारले आफ्नै वा साझेदारीमा प्रयोगशाला स्थापना गर्ने व्यवस्था मिलाउनेछ।

विधेयकले ‘भाँगो’ लाई पनि स्पष्ट रूपमा परिभाषित गरेको छ। गाँजाको बोटमा फल्ने दाना, जसलाई छोप, अचार वा चटनी बनाउन प्रयोग गरिन्छ, त्यसलाई भाँगोका रूपमा परिभाषित गर्दै औद्योगिक कच्चा पदार्थको वर्गमा राखिएको छ।

अनुमतिबिना वा तोकिएका सर्त उल्लङ्घन गरी गाँजा खेती गरेमा भने कडा कारबाही हुने व्यवस्था गरिएको छ। अनुमति नलिई खेती गरेमा, तोकिएको क्षेत्रभन्दा बाहिर वा स्वीकृत क्षेत्रफलभन्दा बढी जमिनमा खेती गरेमा वा इजाजतविपरीत बिक्री–वितरण गरेमा लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम कारबाही र सजाय हुने विधेयकमा उल्लेख छ।

त्यस्तै, आवश्यक अभिलेख नराखेमा, तोकिएको समयभित्र विवरण पेश नगरेमा वा अनुमतिविना सिलबन्दी नगरी ओसारपसार गरेमा निरीक्षकको प्रतिवेदनका आधारमा नियमन इकाइले ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ। यस्तो निर्णयमा चित्त नबुझे सम्बन्धित व्यक्ति वा संस्थाले ३५ दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था गरिएको छ।

विधेयकले गाँजाको व्यावसायिक खेतीसँगै उत्पन्न हुन सक्ने सामाजिक तथा स्वास्थ्यसम्बन्धी जोखिमलाई पनि सम्बोधन गरेको छ। त्यसका लागि प्रदेश सरकारले गाँजा तथा अन्य लागूऔषध दुर्व्यसनबाट प्रभावित व्यक्तिको उपचार, पुनःस्थापना र परामर्श सेवा उपलब्ध गराउने पुनःस्थापना केन्द्र स्थापना तथा सञ्चालन गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ।

मानवअधिकार आयोगको प्रतिवेदन सच्याउन एमाले अध्यक्ष ओलीको निवेदन

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गरी सच्याउन माग गरेका छन्।

आयोगको निर्णय संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय मानवअधिकारका मान्यतासँग मेल नखाने दाबी गर्दै ओलीको तर्फबाट आयोगमा निवेदन दर्ता गरिएको हो।

एमाले केन्द्रीय सदस्य महेश बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर अध्यक्ष ओलीको तर्फबाट निवेदन बुझाएका हुन्। उनले आयोगको निर्णय नम्बर १७७ पुनरावलोकन गरी सच्याउन औपचारिक रूपमा अनुरोध गरिएको जानकारी दिए।

राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गतेका घटनाका सम्बन्धमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मानवअधिकार उल्लङ्घन गरेको ठहर गर्दै उनीहरूमाथि कारबाही गर्न सिफारिस गरेको थियो।

दर्ता गरिएको निवेदनमा आयोगको उक्त निर्णय पूर्वाग्रहपूर्ण, असंवैधानिक तथा नेपालको संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय मानवअधिकारका स्थापित सिद्धान्तविपरीत रहेको जिकिर गर्दै त्यसलाई पुनरावलोकन गरी सच्याउन आग्रह गरिएको छ।

निवेदनमार्फत आयोगसँग यसअघि माग गरिएका कागजात तथा प्रतिवेदनका प्रतिलिपि पूर्ण रूपमा उपलब्ध नगराइएको उल्लेख गर्दै आवश्यक सबै दस्तावेज उपलब्ध गराउन पनि माग गरिएको छ।

एमालेले लिली थापाको नेतृत्वमा गठित समितिले आयोगसमक्ष पेस गरेको भनिएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन, आयोगले उक्त प्रतिवेदनका कुन–कुन अंश स्वीकार गरेको, कुन अंश हटाएको वा थप गरेको भन्ने विवरण तथा त्यसका आधार र कारण खुल्ने सम्पूर्ण कागजात उपलब्ध गराउन माग गरेको छ।

यस्तै, आयोगले उक्त घटनासम्बन्धी थप छानबिन, अनुसन्धान वा अध्ययन गरेको भए त्यससँग सम्बन्धित सबै प्रतिवेदन र प्रमाणित कागजात पनि उपलब्ध गराउन निवेदनमार्फत अनुरोध गरिएको छ।

कमेडियन सुमन कोइराला ‘तिरिमिरी झ्याइँ’मा हिरो

काठमाडौं। टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ मार्फत लोकप्रिय बनेका कलाकार सुमन कोइराला अब पहिलोपटक नेपाली चलचित्रमा मुख्य भूमिकामा देखिने भएका छन्।

‘दले दाइ’ पात्रबाट दर्शकमाझ परिचित बनेका कोइरालाले ‘तिरिमिरी झ्याइँ’ मार्फत नायकका रूपमा ठूलो पर्दामा डेब्यु गर्न लागेका हुन्।

बिहीबार काठमाडौंस्थित एक मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो। निर्माण टिमका अनुसार चलचित्र पूर्ण रूपमा कमेडी विधामा आधारित हुनेछ र सुमन कोइरालाको हास्य अभिनयलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरिनेछ।

चलचित्रमा सुमन कोइरालासँगै धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुरज चौलागाईं, राज न्यौपाने र जयराम ढकाललगायत कलाकारको अभिनय रहनेछ।

निर्देशक समीरले चलचित्रले सुरुदेखि अन्त्यसम्म दर्शकलाई मनोरञ्जन दिने विश्वास व्यक्त गरे। उनका अनुसार यो विशुद्ध कमेडी फिल्म हुनेछ, जसको मुख्य उद्देश्य दर्शकलाई हँसाउनु हो। उनले चलचित्रको छायांकन असार २९ गतेदेखि सुरु हुने जानकारी दिए।

चलचित्रको कथा र कन्सेप्ट आभास अधिकारीले तयार पारेका हुन्। पटकथा तथा संवाद गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा लेखेका छन्। आभास अधिकारीले कार्यकारी निर्माताको जिम्मेवारी पनि सम्हालिरहेका छन्।

राइजन मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको ‘तिरिमिरी झ्याइँ’ का निर्माता प्रद्युम्न बोगटी ‘प्रवीन’ हुन्।

कमेडी कलाकारका रूपमा स्थापित सुमन कोइरालाको चलचित्र यात्रा कस्तो रहनेछ भन्ने प्रतीक्षा अहिले दर्शकमाझ बढ्न थालेको छ।

नेपालमा टेलिफोन ग्राहक ३ करोड ३१ लाख

काठमाडौं। नेपालमा टेलिफोन सेवाका ग्राहकको संख्या ३ करोड ३१ लाख नाघेको छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले सार्वजनिक गरेको जेठ महिनाको व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार देशको कुल जनसंख्या भन्दा टेलिफोन सदस्यता बढी देखिएको हो।

जनगणना–२०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। एउटै व्यक्तिले एकभन्दा बढी सिमकार्ड प्रयोग गर्ने प्रवृत्तिका कारण सदस्यता संख्या जनसंख्याभन्दा बढी देखिएको प्राधिकरणले जनाएको छ।

प्रतिवेदनअनुसार भ्वाइस टेलिफोन सेवामा जीएसएम प्रविधिको वर्चस्व कायम छ। नेपाल टेलिकम १ करोड ५७ लाख ३० हजार जीएसएम ग्राहकसहित अग्रस्थानमा रहेको छ भने एनसेलका जीएसएम ग्राहक करिब १ करोड ४१ लाख छन्। नेपाल टेलिकमसँग ३० हजार ५६४ फिक्स्ड पीएसटीएन ग्राहक तथा ३ लाख ८६ हजार १२२ एफटीटीएच भ्वाइस सेवा प्रयोगकर्ता पनि रहेका छन्।

जीएमपीसीएस प्रविधिमा आधारित पोर्टेबल स्याटेलाइट सेवातर्फ कन्स्टेलेसन प्रालिका १ हजार १७३ र १४ टेक्नोलोजीका १६ ग्राहक रहेको प्रतिवेदनमा उल्लेख छ।

भ्वाइस टेलिफोन बजार हिस्साका आधारमा नेपाल टेलिकम ५३.४६ प्रतिशत बजार हिस्सासहित पहिलो स्थानमा रहेको छ भने एनसेलको हिस्सा ४६.५३ प्रतिशत छ। मोबाइल सेवाको पहुँच (पेनिट्रेसन) १०२.५२ प्रतिशत पुगेको छ, जसले अधिकांश प्रयोगकर्ताले एकभन्दा बढी सिम प्रयोग गरिरहेको संकेत गर्छ। फिक्स्ड टेलिफोनको पहुँच भने १.४२ प्रतिशतमा सीमित रहेको छ।

देशभर ब्रडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या ३ करोड ११ लाख ३० हजार पुगेको छ। तीमध्ये २ करोड ७६ लाख २० हजार अर्थात् ८८.७३ प्रतिशतले मोबाइल ब्रडब्यान्ड प्रयोग गरिरहेका छन्। फिक्स्ड (तारयुक्त) ब्रडब्यान्ड प्रयोगकर्ताको संख्या ३४ लाख ७० हजार रहेको छ, जुन कुल ब्रडब्यान्ड ग्राहकको ११.१७ प्रतिशत हो। फिक्स्ड वायरलेस ब्रडब्यान्ड प्रयोगकर्ता ३१ हजार ३४९ रहेका छन्।

मोबाइल ब्रडब्यान्ड सेवामा पनि नेपाल टेलिकम ५५.४१ प्रतिशत बजार हिस्सासहित अग्रस्थानमा छ भने एनसेलले ४४.५९ प्रतिशत हिस्सा ओगटेको छ। प्रतिवेदनअनुसार मोबाइल ब्रडब्यान्डको पहुँच कुल जनसंख्याको ९४.७ प्रतिशत पुगेको छ भने फिक्स्ड ब्रडब्यान्डको पहुँच ५२.११ प्रतिशत रहेको छ।

फिक्स्ड ब्रडब्यान्ड बजारमा सरकारबाट अनुमति प्राप्त एक सयभन्दा बढी इन्टरनेट सेवा प्रदायक (आईएसपी) सक्रिय रहे पनि बजारको अधिकांश हिस्सा सीमित कम्पनीहरूको नियन्त्रणमा रहेको देखिएको छ। यस क्षेत्रमा वर्ल्डलिंक ३०.८२ प्रतिशत बजार हिस्सासहित अग्रस्थानमा रहेको छ। त्यसपछि नेपाल टेलिकम १०.९७ प्रतिशत, डिसहोम १०.५८ प्रतिशत, भायानेट १०.५४ प्रतिशत, क्लासिक टेक ८.२६ प्रतिशत र सुबिसु ७.६१ प्रतिशत बजार हिस्सासहित प्रमुख सेवा प्रदायकका रूपमा रहेका छन्।

एनटीएको प्रतिवेदनले नेपालमा मोबाइल तथा इन्टरनेट सेवाको प्रयोग निरन्तर विस्तार भइरहेको देखाएको छ। विशेषगरी मोबाइल ब्रडब्यान्डको उच्च पहुँचले डिजिटल सेवाप्रतिको निर्भरता बढ्दै गएको संकेत गरेको छ।

मन्त्रालयमै सिभिलको स्वास्थ्य सेवा इकाई : दैनिक ५० भन्दा बढी कर्मचारी लाभान्वित [फोटो-फिचर]

काठमाडौं। निजामती कर्मचारीलाई सहज, छिटो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ।

मन्त्रालय परिसरमै स्वास्थ्य सेवा उपलब्ध भएपछि कर्मचारीहरूले सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पताल धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

गत असार १९ गतेदेखि मन्त्रालय भवनको तल्लो तलामा सञ्चालनमा आएको उक्त स्वास्थ्य सेवा इकाईबाट निजामती कर्मचारीलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न थालिएको मन्त्रालयले जनाएको छ। कार्यस्थलमै स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराइएकाले कर्मचारीको समय बचत हुनुका साथै निजामती कर्मचारी अस्पतालमा हुने सेवाग्राहीको चाप पनि कम हुने विश्वास गरिएको छ।

स्वास्थ्य सेवा इकाईबाट नियमित स्वास्थ्य परीक्षण, रगत परीक्षण, रक्तचाप (ब्लड प्रेसर) जाँच, रगतमा चिनी (ब्लड सुगर) परीक्षणलगायतका आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ। आवश्यकता अनुसार थप प्रारम्भिक स्वास्थ्य परामर्शसमेत प्रदान भइरहेको मन्त्रालयले जनाएको छ।

हाल उक्त सेवा इकाईमा एक जना चिकित्सक, एक जना नर्स, एक जना ल्याब टेक्निसियन, एक जना प्रशासनिक कर्मचारी र एक जना सहयोगी गरी पाँच जना जनशक्ति कार्यरत छन्। उनीहरूले दैनिक रूपमा मन्त्रालयमा कार्यरत कर्मचारीलाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।

स्वास्थ्य सेवा इकाईमा कार्यरत डा. लक्ष्मी शर्माका अनुसार मन्त्रालयमै सेवा सुरु भएपछि सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पतालमा लामो समय लाइन बस्नुपर्ने समस्या अन्त्य भएको छ। उनले सम्पूर्ण प्रारम्भिक शारीरिक परीक्षण, प्रयोगशाला सेवा, रक्तचाप तथा रगतमा चिनीको परीक्षणजस्ता सेवा नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिइन्।

डा. शर्माका अनुसार सेवा सञ्चालनमा आएयता दैनिक ५० जनाभन्दा बढी कर्मचारी स्वास्थ्य परीक्षणका लागि सेवा इकाईमा आउने गरेका छन्। सेवाप्रति कर्मचारीको आकर्षण बढ्दै गएको र आगामी दिनमा आवश्यकताअनुसार सेवाको दायरा विस्तार गर्ने योजना रहेको पनि उनले बताइन्।

सेवा सञ्चालन भएपछि कर्मचारीहरूले कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध हुँदा समयको बचत भएको, अस्पतालसम्म धाउन नपरेको तथा लामो लाइनमा बस्ने झन्झट हटेको प्रतिक्रिया दिएका छन्।

मन्त्रालयले यस प्रकारको सेवा कर्मचारीमैत्री प्रशासन निर्माणतर्फको महत्वपूर्ण पहल भएको जनाएको छ।

तस्वीरहरू:

 

बल पासिङमा रोड्रीको दबदबा

काठमाडाैं। फुटबलमा पास गर्ने कला महत्वपुर्ण मानिन्छ। फिफा विश्वकप क्वार्टरफाइनलका खेल सुरु हुन लाग्दा  फिफाको तथ्याङ्कअनुसार टोलीको आक्रमण निर्माण र बल पोजेसनमा सबैभन्दा बढी योगदान पुर्याउने खेलाडीहरूको सूचीमा रोड्री, पाउ कुबार्सी, ग्याब्रियल मागाल्हाएसजस्ता डिफेन्सिभ मिडफिल्डर र डिफेन्डरहरूले पासिङ शिर्ष स्थानमा छन्। 

स्पेनका मिडफिल्डर ३० वर्षीय रोड्री सर्वाधिक ५ सय २६ पास गर्दै यो सूचीको शिर्ष स्थानमा छन्। उनको पासिङ सटीकता ९४ प्रतिशत रहेको छ, जसले गर्दा उनी आफ्नो टोलीको खेलको मेरुदण्डको रूपमा देखिन्छन्। रोड्रीले २ क्रस, १३ डिफेन्सिभ लाइनब्रेक र ३ स्विच अफ प्ले प्रयास गरेका छन्। उनको यो प्रदर्शनले उनी मैदानको केन्द्रमा कसरी खेलको गति निर्धारण गर्छन् भन्ने देखाउँछ।

दोस्रो स्थानमा अर्का स्पेनीस् खेलाडी, युवा डिफेन्डर पाउ कुबार्सी छन्। उनले ४ सय ४१ पास गरेका छन् र उनको सटीकता ९७ प्रतिशत छ।  जुन सूचीमै सबैभन्दा उच्च हो। १८ वर्षीय यी डिफेन्डरले चार लाइनब्रेक र एक स्विच अफ प्ले प्रयास गरेका छन्, र उनको पासिङ शुद्धता उनको परिपक्वताको प्रमाण हो।

४ सय ३१ पास र ९६ प्रतिशतका साथ ब्राजिलका डिफेन्डर ग्याब्रियल मागाल्हाएस तेस्रो स्थानमा छन्। 

४ सय २७ पास, ९४ प्रतिशत सटिकताका साथ चौथो स्थानमा स्पेनका अयमेरिक लापोर्टे छन्। जसले ८ लाइनब्रेक र ७ स्विच अफ प्ले प्रयास गरेका छन्, र स्विच अफ प्लेमा सय प्रतिशत सटीकता कायम राखेका छन्।

स्विजरल्याण्डका म्यानुएल आकान्जी ४ सय २४ पास ९३ प्रतिशत सटिकता सहित यो सूचीको पाँचौं स्थानमा छन्। उनले ६ लाइनब्रेक र ७ स्विच अफ प्ले प्रयास गरेका छन्। यी सबै डिफेन्डरहरूको शीर्ष स्थानमा रहनुले आधुनिक फुटबलमा गोलरक्षकदेखि अग्रपंक्तिसम्म सबैले पासिङमा निपुण हुनु अनिवार्य भएको सङ्केत गर्छ।

छैटौं स्थानमा पोर्चुगलका मिडफिल्डर भिटिन्या छन्। उनले ११ स्विच अफ प्ले प्रयास गरेका छन्, जुन शीर्ष दसमध्ये सबैभन्दा बढी हो । यसले उनी फराकिलो क्षेत्रमा खेल सार्ने माहिर हुन् भनी देखाउँछ। 

यी तथ्याङ्कले देखाउँछ कि फिफा  विश्वकपमा सबैभन्दा बढी पास गर्ने खेलाडीहरूमध्ये अधिकांश डिफेन्डर वा रक्षात्मक मिडफिल्डर छन्। यो कुनै आश्चर्यको कुरा होइन, किनभने यी खेलाडीहरूले नै पछाडिबाट खेल सुरु गर्छन् र सबैभन्दा बढी बल देख्छन्। 

उनीहरूको पासिङ सटीकता ९० प्रतिशत भन्दा माथि छ, जसले उनीहरूले दबाबमा पनि बल सुरक्षित राख्न सक्ने क्षमता देखाउँछ। विशेषगरी रोड्री, कुबार्सी, र ग्याब्रियलको पासिङ सटीकता ९४ प्रतिशत भन्दा माथि हुनु उत्कृष्ट हो।

अर्को महत्वपूर्ण पक्ष भनेको ‘स्विच अफ प्ले’ मैदानको एक किनारबाट अर्को किनारमा लामो पास गर्ने क्षमता हो। यसमा भिटिन्या , मान्डी , जाका शिर्ष स्थानमा छन्, र उनीहरूको सटीकता उच्च रहेको छ। 

त्यस्तै, ‘डिफेन्सिभ लाइनब्रेक’ अर्थात प्रतिद्वन्द्वीको रक्षापंक्ति भेद्ने पासमा रोड्री, जाका, लापोर्टे, बेन सेबाइनी अगाडि छन्। यद्यपि यसको सटीकता भने फरक-फरक छ। रोड्रीको सटीकता ९२ प्रतिशत रहँदा बेन सेबाइनीको ३८ प्रतिशत मात्र छ। यसले रोड्रीको निर्णय क्षमता कति उत्कृष्ट छ भनी दर्शाउँछ।

क्रसिङको कुरा गर्दा हाकिमी एक्लै उदाहरण हुन्। अरू धेरैले क्रस नै गरेका छैनन् । हाकिमीको ३३ क्रस प्रयासले उनी कति अगाडि बढेर आक्रमणमा सहभागी हुन्छन् भन्ने बताउँछ।

यी तथ्याङ्कहरूले आधुनिक प्रशिक्षकहरूलाई बहुमूल्य सूचना प्रदान गर्छन्। कुन खेलाडीले बललाई कसरी अगाडि बढाउँछन्, कहाँ पास गर्ने गल्ती हुन्छ, र कसरी प्रतिद्वन्द्वीको दबाबलाई चिर्न सकिन्छ भन्ने। उच्च पासिङ सटीकता र लाइनब्रेक क्षमता भएका खेलाडीहरू टोलीको खेललाई प्रभावकारी बनाउन महत्वपूर्ण हुन्छन्।

संसदमा आज : विशेष समयमा सांसदहरूको सरकारलाई ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा सांसदहरूले सडक सुरक्षा, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, कृषि, नदी कटान, खानेपानी, परराष्ट्र नीति, नागरिकता, सार्वजनिक सेवा तथा विकास निर्माणसँग सम्बन्धित विविध विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।

अधिकांश सांसदले जनजीवनसँग प्रत्यक्ष जोडिएका समस्या समाधानमा सरकारले प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले सडकको बीच भागमा रहेका बिजुलीका खम्बाका कारण दुर्घटनाको जोखिम बढिरहेको उल्लेख गर्दै ती संरचना तत्काल हटाउन सरकारसँग माग गरे। नेपाली कांग्रेसकी सांसद सुशीला ढकाल आचार्यले विगत तीन दशकमा मुलुकमा केही पनि नभएको भन्ने र वर्तमान सरकारको एक सय दिनमै देशमा ठूलो परिवर्तन आएको भन्ने दुवै धारणा अतिरञ्जित र यथार्थभन्दा टाढा रहेको बताइन्।

नेकपा (एमाले)का सांसद क्षितिज थेवेले निर्वाचनमार्फत प्राप्त जनादेशअनुसार जनअपेक्षा पूरा गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा सडक दुर्घटनाको संख्या बढ्दै गएको भन्दै सुरक्षित सडक निर्माणका लागि पर्याप्त बजेट छुट्याउन सरकारसँग आग्रह गरे।

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बाँदर र बँदेललगायत जङ्गली जनावरका कारण पहाडी क्षेत्रमा किसान खेतीपाती छाड्न बाध्य भइरहेको उल्लेख गर्दै प्रभावकारी नियन्त्रण कार्यक्रम सञ्चालन गर्न माग गरे। रास्वपाका सांसद ताहिर अली भाटले अस्थायी, करार र ज्यालादारी कर्मचारीको दीर्घकालीन समस्या समाधान गर्न सरकारलाई सुझाव दिए।

रास्वपाकै सांसद अरबिन्द साहले सरकारको पहिलो एक सय दिनमा सुशासन, प्रशासनिक सुधार, डिजिटल सेवा विस्तार तथा आधारभूत संरचना सुदृढीकरणका क्षेत्रमा सकारात्मक प्रगति भएको दाबी गरे। नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले जाजरकोट भूकम्पबाट प्रभावित परिवारको पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए।

एमाले सांसद रिङ्गला यादवले नवलपरासी पश्चिमको सुस्ता क्षेत्रका नागरिकले लामो समयदेखि भूमि र पहिचानको समस्या भोग्दै आएकाले त्यसको तत्काल समाधान गर्न सरकारसँग माग गरिन्। नेकपाका सांसद रमेशकुमार मल्लले नेपालको स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीतिलाई सरकारले पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले नेपाल वायुसेवा निगमलाई युरोपेली सङ्घको कालोसूचीबाट हटाउन आवश्यक कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरिन्। रास्वपाका सांसद ठाकुरसिंह थारुले बर्दियामा सर्पदंशका बिरामीको संख्या बढेकाले जिल्ला अस्पतालमा सघन उपचार कक्ष सञ्चालन गर्न माग गरे।

रास्वपाकी सांसद रुक्मिणीदेवी कोइरालाले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी तथा भूमिहीन नागरिकलाई भूमिको स्वामित्वसहित पुनःस्थापना गर्नुपर्ने बताइन्। एमालेका सांसद ऐनबहादुर महरले छिमेकी मुलुकसँगको सम्बन्धबारे सरकारको स्पष्ट धारणा संसद्मा प्रस्तुत गर्न माग गरे भने रास्वपाकी सांसद बिना गुरुङले बेलायती गोर्खा सैनिकका सन्तानको नागरिकतासम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।

रास्वपाका सांसद खगेन्द्र सुनारले जेन–जी आन्दोलनका क्रममा बल प्रयोग गर्ने जिम्मेवारमाथि कहिले कारबाही हुन्छ भन्दै सरकारसँग प्रश्न गरे। सोही पार्टीका सांसद सागर भुसालले बाँदर आतङ्कबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउन माग गरे भने सांसद नरेन्द्र साह कलवारले आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्न हतारिने प्रवृत्ति अन्त्य गर्न सरकारलाई सुझाव दिए।

रास्वपाका सांसद प्रदीप विष्टले काठमाडौं क्षेत्र नम्बर १० अन्तर्गत कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरि क्षेत्रमा खानेपानी अभाव चर्किएको उल्लेख गर्दै पानीका स्रोत संरक्षण र न्यायोचित वितरणको व्यवस्था गर्न आग्रह गरे। सांसद ज्ञानु पौडेलले सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी बढाउन सरकारसँग माग गरिन्।

रास्वपाका सांसद राम लामाले हरेक वर्ष रासायनिक मल अभाव दोहोरिने समस्या समाधान गर्न स्वदेशमै मल कारखाना स्थापना गर्नुपर्ने सुझाव दिए। सांसद रुकेश रञ्जितले भक्तपुर नगरपालिका–२ स्थित देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजना शीघ्र सम्पन्न गर्न माग गरे भने सांसद बुद्धरत्न महर्जनले कान्ति लोकपथको मापदण्ड र रुटबारे स्पष्ट जानकारी सार्वजनिक गर्न सरकारसँग आग्रह गरे।

रास्वपाकी सांसद ललिताकुमारीले चिकित्सकहरूमाथि भइरहेका आक्रमण रोक्न प्रभावकारी कानुनी संरक्षण आवश्यक रहेको बताइन्। सांसद ज्ञानेन्द्रसिंह महताले कञ्चनपुरका महाकाली र जोगबुढा नदी आसपासका बस्तीमा बाढी र नदी कटानको जोखिम बढेकाले दीर्घकालीन नियन्त्रण योजना बनाउन सरकारलाई सुझाव दिए। सांसद राजीव खत्रीले सुदूरपश्चिमका किसानलाई सिँचाइ, मल, बीउ, लगानी र आधुनिक प्रविधिमा पहुँच विस्तार गर्न माग गरे।

बैठकको प्रारम्भमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पुरुषले गरेको आत्मदाह प्रयासको घटनाबारे सरकारसँग जवाफ माग गरेका थिए। उनले घटनाको वास्तविकता सार्वजनिक गर्दै यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘हामी बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिम्मेवारीबाट हटाइए

काठमाडौं । सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डीएसपी प्रसन्नराज चौधरीलाई जिम्मेवारीबाट हटाइएको छ।

उनको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिन थालेपछि उनलाई स्पष्टीकरणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा तानिएको प्रहरीले जनाएको हो।

सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा डीएसपी चौधरीले, ‘हामी बालेनको पुलिस होइनौँ, केपी ओलीलाई थुन्ने यही नेपाल प्रहरी हो,’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भिडियो सार्वजनिक भएपछि त्यसबारे विभिन्न प्रतिक्रिया आएका थिए।

प्रहरी स्रोतका अनुसार भिडियो भाइरल भएसँगै उनको अभिव्यक्तिबारे आन्तरिक रूपमा छानबिन सुरु गरिएको छ। त्यसैको क्रममा उनलाई इलाका प्रहरी कार्यालय सुख्खडको नेतृत्वबाट हटाएर जिल्ला प्रहरी कार्यालय कैलालीमा तानिएको हो। उनीसँग सो अभिव्यक्तिबारे स्पष्टीकरण पनि मागिएको जनाइएको छ।

उक्त कार्यक्रममा डीएसपी चौधरीले आफू लोकसेवा आयोगको प्रतिस्पर्धाबाट प्रहरी सेवामा आएको उल्लेख गर्दै नेपाल प्रहरी कुनै व्यक्ति वा दलको नभई संविधान र कानुनअनुसार सञ्चालन हुने संस्था भएको धारणा राखेका थिए। यद्यपि, उनले प्रयोग गरेको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि प्रहरी प्रधान कार्यालयले आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाएको छ।

यस विषयमा प्रहरीको औपचारिक विस्तृत प्रतिक्रिया आउन बाँकी छ भने घटनाबारे थप अनुसन्धान तथा छानबिन जारी रहेको बताइएको छ।

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने व्यक्ति को हुन् ?

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिर आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार उक्त घटनामा संलग्न व्यक्ति मुगु जिल्लाको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली हुन्। उनी हाल भक्तपुरमा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १:४५ बजे राहदानी विभागको ३ नम्बर गेट नजिक उनले आफैंले प्रयोग गर्दै आएको मोटरसाइकलबाट पेट्रोल निकाली शरीरमा छर्किएर आगो लगाएका थिए। घटनास्थलमा रहेका प्रहरी र प्रत्यक्षदर्शीले तत्काल आगो नियन्त्रणमा लिएपछि उनको उद्धार गरिएको थियो।

घटनापछि उनलाई तत्काल काठमाडौं महानगरपालिकाको सहयोगमा उपचारका लागि महाबौद्धस्थित वीर अस्पताल लगिएको थियो। अस्पतालमा उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

अस्पताल स्रोतका अनुसार उनको शरीरका विभिन्न भागमा गम्भीर जलन भएको छ र अवस्था चिन्ताजनक रहेको छ। यद्यपि, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार उनी अहिले सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेका छन्।

आत्मदाह प्रयास गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन। प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनास्थलबाट संकलित प्रमाण, प्रत्यक्षदर्शीको बयान तथा अन्य तथ्यका आधारमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।