`

भोटेकोशीको बाढीपछि हराए आयुश, छोराको खबर पर्खिरहेका छन् बुबाआमा [भिडियो]

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि क्वारेन्टाइन कार्यालय टिमुरेमा कार्यरत २१ वर्षीय खरिदार आयुश खड्का सम्पर्कविहीन भएका छन्।

सल्यानको बागचौर नगरपालिका–पिपलनेटा घर भएका आयुश बुधबार बिहान करिब ९ बजेसम्म अनलाइनमा देखिएका थिए। त्यसपछि भने उनको कुनै खबर छैन। फोनमा सम्पर्क हुन सकेको छैन। आफन्तसँग पनि उनी सम्पर्कमा आएका छैनन्।

चितवनमा रहेकी नातामा फूपु पर्ने लक्ष्मी बुढाथोकी थापाका अनुसार बुधबार बिहान ९ बजेपछि आयुशसँग एकाएक सम्पर्क टुट्यो।

त्यसयता परिवारका लागि हरेक मिनेट भारी बनेको छ।

सल्यानको पिपलनेटास्थित घरमा आयुशका बुबा र आमा छोराको खबरको प्रतीक्षामा छन्। मोबाइल हातमै राखेर उनीहरू छोराको फोन आउने आशामा बसिरहेका छन्। तर, अहिलेसम्म फोन आएको छैन।

‘मेरो छोरा कहाँ छ ? कस्तो अवस्थामा छ ?’- यही प्रश्नले सताइरहेको छ।

भोटेकोशीमा आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्‍याएको खबरसँगै आयुश सम्पर्कविहीन भएपछि परिवार झनै आत्तिएको छ। छोराको अवस्था थाहा नपाउँदा उनीहरू न निदाउन सकेका छन्, न त मन थाम्न।

घरमा अहिले एउटै प्रार्थना छ-आयुश सकुशल होस्।

बुबाआमा छोराको अनुहार सम्झिरहेका छन्। छोराको आवाज सुन्न आतुर छन्। उनीहरूलाई अहिले अरू केही चाहिएको छैन। छोराले एकपटक फोन गरेर ‘म ठीक छु’ भनिदिए पुग्छ।

आयुशकी फूपु लक्ष्मीले उनको खोजीमा सहयोग गरिदिन सबैसँग भावुक अपिल गरेकी छन्। उनले आयुश फेला परेमा तत्काल परिवारलाई खबर गरिदिन आग्रह गरेकी छन्।

‘आयुश फेला परेपछि ९७६४५०६९१२ मा सम्पर्क गरिदिनुहोला,’ लक्ष्मीले आग्रह गरेकी छन्।

भोटेकोशीको बाढीले धेरै परिवारलाई पीडामा पारेको छ। त्यही बाढीपछि एउटा परिवार भने यतिबेला छोराको एउटा खबरको प्रतीक्षामा छ- आयुश, जहाँ भए पनि सकुशल रहून् र छिट्टै परिवारको सम्पर्कमा आऊन्।

भोटेकोशी बाढीमा मधेशका ३० जना सम्पर्कविहीन

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा मधेश प्रदेशका ३० जना सम्पर्कविहीन भएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार परिवार तथा आफन्तबाट प्राप्त सूचनाका आधारमा उनीहरू रसुवाका विभिन्न स्थानमा काम गर्दै वा बसोबास गर्दै आएका थिए । बाढीपछि उनीहरूसँग सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पर्साका १६, बाराका ३, रौतहटका २, सर्लाहीका ६ र सप्तरीका २ जना सम्पर्कविहीन छन् ।

पर्साबाट सम्पर्कविहीन हुनेमा नारायण पटेल, सुबोध पटेल, अरुण हजरा, श्यामबाबु ठाकुर, उकेश दंगोल, सञ्जय तामाङ, आकाश तामाङ, कमरुल होदा अंसारी, सुभाष पटेल, समिम देवान, अनुतमबहादुर श्रेष्ठ, अभिषेक बस्तोला, घनश्याम बस्तोला, दिनेश परियार र पृथ्वी चौधरीलगायत छन् ।

बाराका नारायण सिंह, सत्यप्रकाश राम र अन्कित पटेलको अवस्था पनि हालसम्म पत्ता लाग्न सकेको छैन । त्यस्तै रौतहटका गौरव राउत र शेख मजिद सम्पर्कविहीन छन् ।

सर्लाहीका माधव काफ्ले, अनुज काफ्ले, कृष्णप्रसाद धमला, द्वारिका दंगाल, चिरञ्जीवी खतिवडा र सुनिल कुशवाहा पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । सप्तरीका अजयकुमार यादव र साजन चौधरीको अवस्थासमेत यकिन हुन सकेको छैन ।

प्रहरीका अनुसार सम्पर्कविहीनको सूचीमा रहेका सर्लाहीका ज्ञानबहादुर थिङ र श्यामलाल मोक्तान भने उद्धारपछि परिवारको सम्पर्कमा आएका छन् ।

बाँकी व्यक्तिको अवस्था पत्ता लगाउन खोज तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मधेश प्रदेश प्रहरीले सम्पर्कविहीन व्यक्तिका परिवार तथा आफन्तलाई अनावश्यक त्रासमा नपर्न र अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गरेको छ ।

बाढीबाट बाँचेकालाई बचाउन हेलिकप्टर चाहियो [अडियो वार्ता]

रसुवाको भोटेकोशी नदीमा आएको  भीषण बाढीले कयौं मानिस बेपत्ता छन्। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य मौसमका कारण प्रभावित भएको छ।  बाढीले रसुवासहित नुवाकोटमा ठूलो जनधनको क्षति पुर्याएको छ। यो वार्ता  तयार गर्दासम्म २५ जनाको शव फेला परेको छ। यो घटनाले देशवाशी स्तब्ध छन्।  यही पेरिफेरिमा रहेर रसुवाका कांग्रेस सांसद मोहन आचार्यसँग जंग तामाङले गरेको अडियो वार्ताको सम्पादित अंश :

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको छ। अहिले प्रभावित क्षेत्रको अवस्था कस्तो छ र अहिलेसम्म प्राप्त विवरणअनुसार क्षतिको स्थिति कस्तो छ?

पछिल्लो विवरणअनुसार मानवीय क्षतिको यकिन विवरण अझै प्राप्त हुन सकेको छैन। क्षति हाम्रो अनुमानभन्दा निकै ठूलो छ। अवस्था कल्पनाभन्दा बाहिरको छ। मानवीय क्षतिको विवरण संकलन भइरहेको छ।

उद्धार कार्य भने मौसमका कारण प्रभावित भएको छ। बेलुकीतिर मौसमले साथ नदिएपछि उद्धारमा कठिनाइ भएको हो। दिउँसोसम्म उद्धारको काम भइरहेको थियो। अब भोलिदेखि पुनः उद्धारलाई तीव्रता दिनुपर्ने अवस्था छ।

नेपाल सरकार, विपद् व्यवस्थापन संयन्त्र र गृह मन्त्रालयबाट उपलब्ध साधन–स्रोत परिचालन गरेर काम भइरहेको छ। स्रोत–साधन सीमित भए पनि सरकारले सक्दो प्रयास गरिरहेको छ। तर आवश्यकता निकै ठूलो छ।

त्यसो भए अहिले उद्धारमै मुख्य समस्या देखिएको हो?

उद्धारमा मौसमले अवरोध गरेको हो। तर समस्या मौसममा मात्रै सीमित छैन। क्षति अत्यन्त ठूलो छ र ठूलो भूगोल प्रभावित भएको छ। कतिपय ठाउँ पूर्णरूपमा बाढीले बगाएको अवस्था छ। यस्तो अवस्थामा एकैपटक सबैको उद्धार गर्न सम्भव हुँदैन।

सरकारले तत्काल निर्णय गरेर अघि बढेको छ। निर्णयअनुसार प्रभावकारी कार्यान्वयन हुन सके उद्धारलाई छिटो र व्यापक बनाउन सकिन्छ भन्ने मेरो बुझाइ छ।

उद्धार, राहत र प्रभावितको व्यवस्थापनका लागि अहिले सरकारले, सामाजिक संघसंस्था र अन्य निकायले के गर्नुपर्ने अवस्था छ ?

अहिलेको पहिलो प्राथमिकता उद्धार नै हो। विपद् प्रभावित क्षेत्रमा फसेका र जोखिममा रहेका मानिसलाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा लैजानुपर्छ। त्यसपछि मात्रै पोस्ट–रेस्क्युका काम सुरु हुन्छन्।

राहतका अल्पकालीन तथा दीर्घकालीन प्याकेजलगायत पुनःस्थापनाका विषय त्यसपछिका चरण हुन्। अहिले पहिलो काम भनेको जति मानिस जीवित छन्, उनीहरूलाई तत्काल उद्धार गरेर सुरक्षित बनाउनु हो।

अहिले पनि उद्धारका लागि फोन आइरहेको छ?

आइरहेको छ, धेरै नै आइरहेको छ। टेलिफोन तथा सञ्चार सेवा अवरुद्ध भएका कारण सबै ठाउँबाट सूचना प्राप्त गर्न सकिएको छैन। जति सम्पर्कमा आएका छन्, त्यहाँबाट उद्धारका लागि लगातार फोन आइरहेको छ।

धेरै मानिस सम्पर्कविहीन छन्। ठूलो भूगोल प्रभावित भएकाले कति मानिस बेपत्ता छन् भन्ने अहिले नै ठ्याक्कै अनुमान गर्न सकिने अवस्था छैन।

रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धारका लागि के आवश्यक छ?

अहिले तत्काल आवश्यक पर्ने मुख्य साधन हेलिकप्टर उद्धार हो। रसुवामा सडक सञ्जाल लगभग ध्वस्त भएको छ। धेरै ठाउँका सडक र पुल बाढीले बगाएको छ। एउटा गाउँबाट अर्को गाउँसम्म पुग्न सक्ने अवस्था छैन।

कतिपय मानिस खोलाको वारिपारि फसेका छन्। हिजोसम्म पुल र सडकका कारण सहज आवतजावत भइरहेको थियो तर अहिले ती संरचना बगेपछि एकातिर रहेका मानिस अर्कोतिर जान सक्ने अवस्था छैन।

त्यसैले अहिलेको अवस्थामा रसुवामा हेलिकप्टरमार्फत एयरलिफ्ट गर्नुबाहेक तत्काल उद्धारको अर्को प्रभावकारी विकल्प छैन।

भोटेकोशी बाढीप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त, उद्धारमा एकजुट हुन अपिल

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्मा परेकाहरूको उद्धार तथा राहतका लागि सबै पक्षलाई एकजुट हुन अपिल गरेका छन्।

देशवासीका नाममा बुधबार जारी सन्देशमा पूर्वराजा शाहले चीनको स्वशासित प्रदेश तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढी भोटेकोशी र त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका जलतटीय क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गरेका छन्।

बाढीबाट बजार, बस्ती, बाटोघाटो, पुलपुलेसा, विद्युत् आयोजना लगायतका भौतिक संरचना तथा खेतीपातीमा अपार क्षति पुगेको भन्दै उनले घटनाप्रति दुःख व्यक्त गरेका हुन्।

भोटेकोशीमा आएको बाढीले नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर तथा दुईवटा पक्की पुलसमेत बगाएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति भएको छ भने मानवीय क्षतिको विवरणसमेत बढ्दै गएको छ।

पूर्वराजा शाहले प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सुरक्षाकर्मीसहित बेपत्ता भएका नागरिकको तत्काल खोजी कार्य तीव्र पार्न आवश्यक रहेको बताएका छन्।

उनले विपद्को यस दुःखद् घडीमा खोजी, उद्धार, राहत तथा उपचारका कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन्।

सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघसंस्था तथा आमनागरिक सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै विपद्मा परेकाहरूको उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन एकजुट हुनुपर्ने उनको भनाइ छ।

‘विपद्मा परेकाहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एकजुट हुन’ आग्रह गर्दै उनले यस्तो संकटको सामना सामूहिक प्रयासबाट मात्र प्रभावकारी रूपमा गर्न सकिने सन्देश दिएका छन्।

भोटेकोशीको बाढीपछि सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई तीव्र बनाएको छ। नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन हुनुका साथै हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको छ। प्रभावित रसुवा, नुवाकोट र धादिङलाई सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णयसमेत गरेको छ।

पूर्वराजा शाहले नेपालसँग सीमा जोडिएको छिमेकी देशमा आएको प्राकृतिक विपद्ले अर्को देशलाई समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यस्ता विपद् न्यूनीकरणका लागि अलग–अलग प्रयासभन्दा द्विपक्षीय तथा संयुक्त प्रयास प्रभावकारी हुन सक्ने बताएका छन्।

उनले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय तथा छिमेकी मुलुकसँगको सहकार्यलाई समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

बाढीपीडितको उद्धार र पुनःस्थापनामा जुट्न मानव अधिकार आयोगको अपिल

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसहित सबै पक्षलाई अपिल गरेको छ ।

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै बाढीमा परी नागरिक, सुरक्षाकर्मी, कर्मचारी तथा आन्तरिक र बाह्य पर्यटकको मृत्यु भएको, कैयौँ बेपत्ता तथा घाइते भएको र ठूलो भौतिक क्षति पुगेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

आयोगले विपद्मा परेका नागरिकको जीवन रक्षा, बेपत्ताको खोजी तथा घाइतेको तत्काल उद्धार र उपचारलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ । साथै, बाढीका कारण विस्थापित तथा प्रभावित परिवारलाई सुरक्षित स्थानमा राख्ने र आवश्यक राहत उपलब्ध गराउने व्यवस्था तत्काल मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

उद्धार तथा पुनःस्थापनाका कार्यमा नेपाल सरकार, राजनीतिक दल, कर्मचारी, सुरक्षाकर्मी तथा आम नागरिक सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने आयोगको भनाइ छ ।

विपद्को कठिन अवस्थामा मानवीय सहयोग र समन्वयलाई प्रभावकारी बनाउँदै प्रभावित नागरिकको अधिकार तथा सुरक्षालाई केन्द्रमा राखेर उद्धार, राहत र पुनःस्थापनाका काम अघि बढाउन आयोगले आग्रह गरेको छ ।

बालेनलाई मोदीको फोन, सहयोगको प्रतिबद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई फोन गरी नेपालमा आएको भीषण बाढीप्रति चिन्ता व्यक्त गरेका छन् ।

मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहसँग फोनमा कुराकानी भएको जानकारी दिएका हुन् । कुराकानीका क्रममा उनले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति प्रकट गरेका छन् ।

मोदीले विपद्को यस कठिन घडीमा भारत नेपाललाई आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन् ।

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो क्षति पुर्‍याएपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारका विभिन्न संयन्त्र परिचालन भइरहेका छन् ।

रसुवा-नुवाकोटको बाढीप्रति सात देशका दूतावासको दुःख व्यक्त

काठमाडौं । रसुवा, नुवाकोट र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीप्रति नेपालस्थित सात विदेशी कूटनीतिक नियोगले गहिरो दुःख व्यक्त गरेका छन् ।

अस्ट्रेलिया, युरोपेली युनियन, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र बेलायतका दूतावासले संयुक्त वक्तव्य जारी गर्दै विपद्मा परी प्रभावित भएका सबै नेपालीप्रति सहानुभूति प्रकट गरेका हुन् ।

संयुक्त वक्तव्यमा कठिन परिस्थितिमा नेपाली जनतासँग पूर्ण ऐक्यबद्धता रहेको उल्लेख गरिएको छ । बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति कूटनीतिक नियोगहरूले समवेदना प्रकट गरेका छन् ।

विपद्को अवस्था अझै विकसित भइरहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासनले जारी गरेका निर्देशन तथा आधिकारिक सुरक्षा सूचनाको पालना गर्न उनीहरूले आग्रह गरेका छन् ।

साथै, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षा निकाय तथा स्थानीय अधिकारीले दिएका निर्देशनअनुसार सुरक्षित रहन पनि नियोगहरूले अपिल गरेका छन् ।

त्रिशुली बजारमा उद्धार जारी, अस्पतालबाहिर आफन्तको आर्तनाद [तस्वीरहरू]

काठमाडौं। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि नुवाकोटको त्रिशूली बजार क्षेत्रको अवस्था अझै भयावह बनेको छ ।

नेपाली सेनासहितका सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा हवाई उद्धारलाई निरन्तरता दिएका छन् । बाढीमा परेर घाइते भएकाहरूको श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली तथा चक्रदेव अस्पतालसहितका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

त्रिशूली नदी आसपासको क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहे पनि बजार र आसपासका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको छ । घटनापछि मृतक, बेपत्ता तथा घाइतेका परिवार र आफन्तको भीड अस्पताल तथा नदी किनारमा बढेको छ ।

आफन्तको अवस्था थाहा पाउने आशामा अस्पताल र प्रभावित क्षेत्र पुगेका परिवारजनको आर्तनादले त्रिशूली बजार क्षेत्र थप शोकाकुल बनेको छ ।

सुरक्षाकर्मीले जोखिमका बीच बेपत्ता तथा प्रभावित नागरिकको खोजी र उद्धार गरिरहेका छन् । प्रभावित क्षेत्रमा थप जोखिम हुनसक्ने भएकाले स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।


 

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयको पछिल्लो विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी २२ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार रसुवामा एक पुरुषको मृत्यु भएको छ । नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जनाको मृत्यु भएको छ । त्यस्तै धादिङमा पाँच महिला, दुई पुरुष र दुई जनाको पहिचान खुल्न नसकेको अवस्थामा मृत्यु भएको छ । चितवनमा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढी प्रभावित विभिन्न क्षेत्रमा घाइते अवस्थामा ६५ जनाको उद्धार गरिएको छ । तीमध्ये रसुवाबाट ४३, नुवाकोटबाट १९ र धादिङबाट तीन जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ ।

उद्धार गरिएका घाइतेमध्ये ६ जनालाई काठमाडौं ल्याइएको छ भने ३६ जना धुन्चेमा उपचाररत रहेको प्रहरीले जनाएको छ । एक प्रहरीसहित अन्य घाइतेलाई नुवाकोटमा उद्धार गरिएको विवरणमा उल्लेख छ ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

बाढीको प्रभाव तल्लो तटीय क्षेत्रसम्म पुगेपछि चितवनमा समेत मानवीय क्षति भएको हो ।

प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीको असर भारतमा पुग्ने त्रास, बिहार-यूपीमा हाई अलर्ट

काठमाडौं। नेपालमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि भारतका बिहार र उत्तर प्रदेश राज्यले तल्लो तटीय क्षेत्रमा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै निगरानी र पूर्वतयारी बढाएका छन् ।

रसुवामा बुधबार तिब्बततर्फबाट आएको अचानकको बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण हालसम्म कम्तीमा १६ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ भने कैयौँ मानिस अझै सम्पर्कविहीन छन् । यसमा भारतीय नागरिकसमेत रहेको बताइएको छ ।

नेपालतर्फको बाढीको प्रभाव गण्डक, नारायणी तथा अन्य नदीको बहावमा पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतका सीमावर्ती क्षेत्रमा सुरक्षा तथा विपद् व्यवस्थापन संयन्त्रलाई सतर्क अवस्थामा राखिएको हो ।

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले अवस्थाको निरन्तर निगरानीका लागि उच्चस्तरीय संयन्त्र परिचालन गरिएको बताएका छन् । उनले मुख्यसचिव र प्रहरी महानिरीक्षकले अवस्थाको अनुगमन गरिरहेको तथा आफूले पनि निरन्तर बैठकमार्फत जानकारी लिइरहेको बताए ।

आवश्यकता परे आफू स्वयं प्रभावित क्षेत्रमा पुग्ने मुख्यमन्त्री चौधरीको भनाइ छ । बिहारका स्वास्थ्यमन्त्री निशान्त कुमारले पनि स्वास्थ्य विभागलाई उच्च सतर्क अवस्थामा राखिएको र आवश्यक सहायता उपलब्ध गराउन तयारी भइरहेको जानकारी दिएका छन् ।

बिहारको विपद् व्यवस्थापन विभागले नदी किनारका बासिन्दालाई सावधानी अपनाउन तथा नदीको आसपास नजान आग्रह गरेको छ । साथै, अफवाहको पछि नलागी सरकारी निकायबाट जारी हुने आधिकारिक सूचना मात्र पालना गर्न अनुरोध गरिएको छ ।

नेपालबाट बगेर आउने नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उत्तर प्रदेश सरकारले पनि सीमावर्ती जिल्लामा सतर्कता बढाएको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथले महाराजगञ्ज र कुशीनगर जिल्लालाई उच्च सतर्कतामा राखिएको जानकारी दिएका छन् । गण्डक र नारायणी नदीमा पानीको सतह बढ्न सक्ने भएकाले स्थानीय प्रशासनलाई आवश्यक तयारी पूरा गर्न तथा सम्भावित जोखिमप्रति सचेत रहन निर्देशन दिइएको उनले बताएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार बाढी प्रभावित क्षेत्रबाट २९१ विदेशी र ९३ नेपाली गरी ३८४ जना पर्यटक तथा यात्रु सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन विदेशीमध्ये १०५ जना भारतीय नागरिक रहेको बताइएको छ ।

तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै नेपाल प्रवेश गरेको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । त्यसको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले नेपालसँग सीमा जोडिएका भारतीय क्षेत्रमा समेत सावधानी र निगरानी बढाइएको हो ।

प्रधानमन्त्री बालेनलाई ‘सिध्याइदिने’ धम्की दिने युवक पक्राउ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई काठमाडौंको कीर्तिपुरमा बस्दै आएका २३ वर्षीय पुस्कर दहाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर नयाँ बजारबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दहालले इन्स्टाग्राममा प्रधानमन्त्री शाहलाई लक्षित गर्दै २३ भदौमा ‘सिध्याइदिने’ भन्दै धम्कीपूर्ण स्टाटस लेखेका थिए । उक्त स्टाटसमा प्रहरीलाई समेत ट्याग गर्नुका साथै आपत्तिजनक शब्द प्रयोग गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका दहाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि साइबर ब्यूरो, भोटाहिटी पठाइएको छ ।

प्रहरी स्रोतका अनुसार दहाल कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आबद्ध रहेका छन् ।

सेयर बजारमा ३६ अंकको पहिरो

काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजारमा करिब ३६ अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३५.९२ अंकले घटेर २ हजार ५५८.३५ विन्दुमा झरेको हो ।

मंगलबार नेप्से ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा रोकिएको थियो ।

बुधबार बजार परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलबार ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ४ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यस दिन ३४८ वटा कम्पनीका १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता सेयर ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार ६५७ रुपैयाँमा किनबेच भएका छन् ।

कारोबारमा आएका ३४८ मध्ये २३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २५२ वटाको घटेको छ । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

बुधबार १३ वटै समूहका उपसूचक राताम्य भएका छन् । बजारमा उच्च अंकको गिरावट आउँदा सबै समूहको उपसूचक नकारात्मक देखिएको हो ।

कम्पनीगत रूपमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा रसुवागढी हाइड्रोपावरको सेयर मूल्य करिब १५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । कम्पनीको करिब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै सानिमा मिडल तमोर हाइड्रोपावरको १९ करोड, साहस ऊर्जा लिमिटेडको १६ करोड, सोलु हाइड्रोपावरको १५ करोड र रिडी पावरको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

उद्धारमा केन्द्रित हुन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित नागरिकको उद्धारलाई सरकारको पहिलो प्राथमिकतामा राखिएको बताएका छन् ।

विमानस्थलबाटै खोज तथा उद्धार अभियानको नेतृत्व गरिरहेका मन्त्री गुरुङले रात परेपछि हेलिकप्टरमार्फत उद्धार गर्न कठिन हुने भएकाले उपलब्ध सुरक्षा संयन्त्रलाई तत्काल उद्धारमा केन्द्रित गरिएको जानकारी दिए ।

उनका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी तथा नुवाकोटका जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कतामा राखिएको छ । सम्भावित थप क्षतिलाई ध्यानमा राख्दै सुरक्षाकर्मीहरूलाई परिचालन गरी उद्धारको काम तीव्र पारिएको उनले बताए ।

‘हाम्रो पहिलो प्राथमिकता रेस्क्यु हुन्छ,’ मन्त्री गुरुङले भने ।

उद्धार अभियान पूरा भएपछि विस्थापित नागरिकका लागि राहत तथा अस्थायी आवासको व्यवस्था गरिने उनको भनाइ छ । उनले हिमताल वा ग्लेसियर फुटेपछि आएको बाढीका कारण ठूलो क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।

मन्त्री गुरुङका अनुसार अहिले उपलब्ध हेलिकप्टरहरू उद्धार कार्यमै प्रयोग भइरहेका छन् । उद्धार अभियान प्रभावित नहोस् भनेर निजी प्रयोजनका लागि हेलिकप्टर उडानमा रोक लगाइएको उनले जानकारी दिए ।

उद्धार आवश्यक रहेका स्थानमा फसेका नागरिकलाई हेलिकप्टरबाट देखिने गरी आगो बालेर वा अन्य माध्यमबाट संकेत दिनसमेत उनले आग्रह गरेका छन् । सुरक्षा निकायलाई आपसी समन्वयसहित उद्धारमा तीव्र रूपमा परिचालित हुन निर्देशन दिइएको मन्त्री गुरुङले बताए ।

भोटेकोशी बाढी : उद्धार र राहतमा सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्न सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतमा जुट्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सभामुख अर्यालले बाढीमा घाइते भएकाहरूको तत्काल उद्धार, सम्पर्कविहीन तथा बेपत्ता नागरिकको खोजी र पीडित तथा विस्थापित परिवारलाई राहत उपलब्ध गराउन राज्यका सबै संयन्त्र परिचालन गर्न आग्रह गरे ।

‘यस दुःखद घडीमा राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ,’ उनले भने, ‘बाढी प्रभावित क्षेत्रमा आवश्यक समन्वय र उद्धार कार्यलाई तीव्रता दिन म नेपाल सरकारलाई निर्देशन दिन्छु।’

सभामुख अर्यालले सरकारका निकायसँगै निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजलाई समेत विपद्को यो घडीमा एकजुट भएर उद्धार तथा राहतमा सहयोग गर्न आह्वान गरे ।

भोटेकोशी बाढीका कारण देशका विभिन्न क्षेत्रमा ठूलो क्षति भएपछि संसद्मा समेत शोकको वातावरण बनेको भन्दै सभामुखले निर्धारित अन्य कार्यसूची थाती राखेर बैठक स्थगित गरेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने तय गरिएको छ ।

बैठकमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीको कारण तथा हालसम्म भएको क्षतिबारे सदनलाई जानकारी गराएका थिए ।

नारायणीमा बाढीको त्रास, सुस्ता गाउँ खाली गराइँदै

रूपन्देही। भोटेकोशी हुँदै आएको बाढीको असर नारायणी नदीमा समेत पर्न सक्ने भएपछि नवलपरासीको सुस्ता गाउँ खाली गराउन थालिएको छ ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै सुस्ताका स्थानीयलाई नदीवारि रामनगरस्थित शिव गंगाकुञ्ज प्राथमिक विद्यालयमा सारिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

प्रशासनका अनुसार सुस्तामा रहेका स्थानीयलाई घरका आवश्यक सामान सुरक्षित तथा अग्लो स्थानमा राख्न लगाएर सुरक्षित ठाउँमा सारिएको हो । स्थानीयको उद्धार तथा स्थानान्तरणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

स्थानीयलाई सुरक्षित स्थानमा सारेपछि सुरक्षाकर्मीका कार्यालयसमेत जोखिमअनुसार सुरक्षित ठाउँमा सारिने तयारी रहेको प्रजिअ नेपालले बताए ।

सुस्तासँगै नारायणी नदी किनारका प्रतापपुर तथा सुस्ता गाउँपालिकाका अन्य बस्तीमा समेत बाढी पस्न सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ ।

नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र जोखिम देखिए तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

बाढी आउने सूचना पाएपछि चितवनस्थित नारायणी किनारका ठेला, पसल सारिँदै

चितवन। रसुवाको भोटेकोशीमा आएको बाढी त्रिशूली हुँदै नारायणी नदीमा मिसिएपछि चितवनमा सतर्कता बढाइएको छ ।

बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नारायणी नदी किनारमा रहेका ठेला, पसल तथा अन्य सामग्री सुरक्षित स्थानतर्फ सार्न थालिएको छ ।

नारायणी नदीको जलस्तर बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दा तथा व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । चितवन प्रशासनले पनि जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

भोटेकोशी बाढीमा १६ जनाको मृत्यु, ३६ घाइते

काठमाडौं। तिब्बततर्फबाट रसुवा हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी १६ जनाको मृत्यु भएको छ ।

बाढीमा ३६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने ४ बजे सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रदेश प्रहरीका अनुसार मृतकमध्ये रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जना छन् । मृतक १६ जनामध्ये ७ महिला र ८ पुरुषको पहिचान खुलेको छ भने एक जनाको सनाखत हुन बाँकी छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले मृतक तथा घाइतेको संख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उद्धार गरिएका घाइतेमध्ये रसुवाबाट १३, नुवाकोटबाट १९ र धादिङबाट ३ जना छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थातर्फ पठाइएको प्रहरीले जनाएको छ ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।

बाढीका कारण सडक, पुल, घर तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा उद्धार र राहतको काम चुनौतीपूर्ण बनेको छ।

भोटेकोसी बाढीमा ९ जनाको शव फेला, सनाखत हुन बाँकी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी हालसम्म ९ जनाको शव फेला परेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष सम्बोधन गर्दै मन्त्री खनालले उद्धार टोलीले बाढी प्रभावित क्षेत्रबाट ९ वटा शव संकलन गरेको जानकारी सदनलाई दिएका हुन् ।

फेला परेका शवको भने अहिलेसम्म सनाखत हुन नसकेको उनले बताए । सनाखतका लागि आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्री खनालको भनाइ छ ।

‘बाढी प्रभावित क्षेत्रमा हालसम्म ९ जनाको शव फेला परेको छ, तर उनीहरूको पहिचान खुल्न सकेको छैन । सनाखतका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ,’ उनले भने ।

मन्त्री खनालका अनुसार बिहान ८ः३७ बजे गएको भूकम्प र त्यसपछि आएको पहिरोका कारण करिब ८ः४० बजे भोटेकोसी नदीमा बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको थियो ।

बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मानवीय क्षतिको विवरण अझै बढ्न सक्ने बताइएको छ ।

महाविपदमा दलगत स्वार्थभन्दा माथि उठेर एकजुट होऔँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढीपहिरोको महाविपद्का बेला दलगत स्वार्थभन्दा माथि उठेर सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले अहिले राजनीति गर्ने नभई मानवीय सेवामा समर्पित हुने समय भएको बताए ।

उनले उद्धार तथा राहतमा अनुभव भएका सबै राजनीतिक दलका विज्ञ र दक्ष जनशक्तिलाई एकै ठाउँमा ल्याएर एकीकृत रूपमा परिचालन गर्न सरकारसँग आग्रह गरे ।

‘हामीसँग भएका सबैभन्दा राम्रा हात र दिमागलाई एक ठाउँमा ल्याऔँ । अहिले कुनै दलको झन्डा बोकेर हिँड्ने बेला होइन, नेपालको झन्डा बोकेर एकजुट भई अगाडि बढ्ने बेला हो,’ उनले भने ।

लामिछानेले संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा रास्वपामाथि विपद् व्यवस्थापनमा थप जिम्मेवारी रहेको उल्लेख गर्दै सरकारलाई सहयोग गर्न पार्टी पूर्ण रूपमा तयार रहेको बताए ।

उनले तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक बोलाएर उद्धार, राहत र पुनःस्थापनाका लागि ठोस कार्ययोजना बनाउनुपर्ने प्रस्तावसमेत गरे ।

‘यो संकटको घडीमा हामी सबै एउटै टिम हौँ । समन्वयकारी जिम्मेवारी लिन र सरकारलाई सघाउन हामी चौबीसै घण्टा तयार छौँ,’ लामिछानेले भने ।

बाढीपहिरोबाट प्रभावित नागरिकसम्म राहत पुर्‍याउन तथा उद्धारलाई प्रभावकारी बनाउन राज्यका सबै संयन्त्र र राजनीतिक दलको स्रोतसाधन तथा जनशक्ति एकीकृत रूपमा परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बाढीमा परी ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै घाइतेको नेपाली सेना, स्वास्थ्य मन्त्रालय तथा सरकारी अस्पतालमार्फत तत्काल निःशुल्क उपचार गर्ने निर्णय भएको छ ।

घाइते तथा विस्थापितको उद्धारका लागि गृह र रक्षा मन्त्रालयको समन्वयमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर पूर्ण क्षमतामा परिचालन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

घरबार गुमाएका पीडितलाई गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सुरक्षित स्थानमा राख्ने, खाना तथा बसोबासको व्यवस्था मिलाउने र मृतकका परिवारलाई कानुनबमोजिम तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको पोखरेलले बताए ।

त्यस्तै, बाढीबाट अवरुद्ध सडक, खानेपानी, विद्युत् र दूरसञ्चार सेवा तत्काल सञ्चालनमा ल्याउने तथा पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोतको समन्वय गर्ने जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको छ ।

उद्धार तथा राहतका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन र भारत सरकारसँग आवश्यक संवाद तथा समन्वय भइरहेको र दुवै देशबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको सरकारले जनाएको छ ।

उद्धारका क्रममा हेलिकप्टरसँग सम्पर्क गर्न नसक्ने अवस्थामा ह्वाट्सएपमार्फत जिओ-लोकेसन सेयर गर्न वा सम्भव नभए आगो तथा धुवाँको संकेत देखाउन सरकारले आग्रह गरेको छ ।

साथै, अनुमति नलिई ड्रोन उडाउन रोक लगाइएको छ ।

विपद् व्यवस्थापनमा प्रो-एक्टिभ योजना बनाउन हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विपद् व्यवस्थापनका लागि सरकारले परम्परागत शैली छाडेर प्रो–एक्टिभ योजना बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै साम्पाङले विकासका नाममा सडक र पुल निर्माणमा मात्र जोड दिनुभन्दा विपद्का बेला तत्काल उद्धार गर्न आवश्यक प्रविधि, उपकरण र दक्ष जनशक्ति तयार पार्नुपर्ने बताए ।

उनले विपद्का बेला परिचालन गर्न सकिने हेलिकप्टर, एम्बुलेन्स, अत्याधुनिक उपकरण तथा दक्ष जनशक्तिमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिए ।

भोटेकोशीमा आएको बाढी तिब्बततर्फबाट सुरु भएकाले छिमेकी मुलुकबीच समयमै सूचना आदानप्रदानको व्यवस्था हुनुपर्ने विषय पनि उनले उठाए । चीनले नेपाललाई बाढीबारे पूर्वसूचना दिएको थियो कि थिएन र नेपालले भारतलाई जानकारी गराएको थियो कि थिएन भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो ।

सामाजिक सञ्जालमा आएका सूचनालाई मात्र आधार नबनाई छिमेकी मुलुकबीच औपचारिक सूचना आदानप्रदानको संयन्त्र प्रभावकारी बनाउनुपर्ने साम्पाङले बताए ।

उद्धारमा खटिने टोलीले जमिनको अवस्था र सम्भावित जोखिमलाई ध्यान दिँदै सावधानी अपनाउनुपर्ने उल्लेख गर्दै उनले उद्धारकै क्रममा थप मानवीय क्षति हुन नदिन सचेत रहन आग्रह गरे ।

विपद्को समयमा सत्ता पक्ष र प्रतिपक्षको विभाजनभन्दा माथि उठेर ‘एक टिम, एक राष्ट्र’का रूपमा उद्धार, राहत र पुनःस्थापनामा जुट्नुपर्ने राईले बताए ।

बाढीपीडितले सरकारको साथ महसुस गर्ने गरी उद्धार गर्न सांसद थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले रसुवाबाट सुरु भएको विनाशकारी बाढी तथा पहिरोले देशभर शोकको अवस्था सिर्जना गरेको भन्दै विपद्को यो घडीमा राजनीतिभन्दा नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेकी छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले विपद्मा परेका नागरिकले ‘राज्य हाम्रो साथमा छ, सरकार हाम्रो दुःखमा उभिएको छ’ भन्ने अनुभूति गर्न सक्ने गरी उद्धार, राहत र उपचारका संयन्त्र परिचालन गर्नुपर्ने बताइन्।

उनले बेपत्ता नागरिकको खोजी, घाइतेको तत्काल उपचार र विस्थापित परिवारको सुरक्षित व्यवस्थापनमा कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिइन्।

सरकारले सञ्चालन गर्ने उद्धार तथा राहतका सबै काममा नेपाली कांग्रेसले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै थापाले विपद्को समयमा सरकारलाई सहयोग गर्नु राजनीतिक जिम्मेवारीसँगै मानवीय दायित्वसमेत भएको बताइन्। कांग्रेसका कार्यकर्ता प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहतमा जुटिसकेको उनले जानकारी दिइन्।

बाढीबाट भएको क्षतिको यथार्थ विवरण तत्काल संकलन गरी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पुर्‍याउन र पुनःस्थापना तथा पुनर्निर्माणका काम ढिलाइ नगरी अघि बढाउन पनि उनले सरकारको ध्यानाकर्षण गराइन्।

रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखासहित बाढी प्रभावित नागरिकको दुःखमा सिंगो नेपाल उभिएको बताउँदै थापाले विपद् व्यवस्थापनमा सबै पक्ष एकजुट भएर लाग्न अपिल गरिन्।

भोटेकोशी बाढीलाई तत्काल राष्ट्रिय विपद् घोषणा गर्न एमालेको माग

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले रसुवाको भोटेकोशीसहितका क्षेत्रमा आएको भीषण बाढीबाट उत्पन्न संकटलाई तत्काल राष्ट्रिय विपद् घोषणा गरेर उद्धार र राहतलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले बाढीका कारण ८ सयभन्दा बढी नागरिक बेपत्ता भएको र २ सयभन्दा बढी अझै उद्धारको पर्खाइमा रहेको जानकारी गराए ।

उनका अनुसार तिब्बतको जिबुङ क्षेत्रमा हिमताल विस्फोटपछि भोटेकोशी हुँदै आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । नुवाकोटमा तीन र धादिङमा चार जनाको शव फेला परिसकेको भन्दै उनले मानवीय क्षतिको संख्या अझै बढ्न सक्ने बताए ।

महरले सरकारलाई तत्काल राहत, उद्धार तथा घाइतेको निःशुल्क उपचार प्रभावकारी बनाउन आग्रह गरे । साथै, बाढीबाट भएको क्षतिको यथार्थ विवरण संकलन गरी सार्वजनिक गर्न र चीनबाट बाढीबारे कुनै पूर्वसूचना प्राप्त भएको थियो वा थिएन भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने उनको माग छ ।

उनले उद्धार तथा राहतमा राजनीतिक दल, मानवअधिकारकर्मी, नागरिक समाज र विभिन्न संघसंस्थालाई समेत परिचालन गर्न राष्ट्रिय आह्वान गर्नुपर्ने बताए ।

बाढीपीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउनुका साथै अवरुद्ध सडक तथा जनजीवन सामान्य बनाउन पुनर्निर्माण र पुनःस्थापनाको काम तत्काल थाल्नुपर्ने महरको भनाइ छ ।

‘यस्तो संकटमा सत्ता पक्ष र प्रतिपक्ष भनेर बस्ने होइन, सिंगो देश एक ठाउँमा उभिनुपर्छ,’ उनले भने ।

एमालेले बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि आफ्ना कार्यकर्ता परिचालन गरिसकेको जानकारी दिँदै महरले पार्टीको आकस्मिक बैठकले थप राहत तथा उद्धारसम्बन्धी निर्णय गर्ने बताए ।

रसुवाको बाढी : ३८४ पर्यटक बेपत्ता

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि विभिन्न क्षेत्रमा ३ सय ८४ आन्तरिक तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् ।

नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सी, पर्यटक गाइड, स्थानीय तह तथा सुरक्षा निकायबाट प्राप्त विवरणका आधारमा झन्डै चार सय पर्यटक सम्पर्कविहीन रहेको जनाएको हो ।

सम्पर्कविहीन हुनेमा २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक छन् । बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा सडक सम्पर्क विच्छेद भएकाले उनीहरूको अवस्थाबारे तत्काल जानकारी लिन कठिन भएको बोर्डले जनाएको छ ।

प्राप्त विवरणअनुसार सम्राट टुर्स एन्ड ट्राभल्सबाट गएका ७१ जना सम्पर्कविहीन छन् । उनीहरूमध्ये ५९ भारतीय र १२ नेपाली छन् । काठमाडौं होलिडेजबाट गएका १७ जनामध्ये १५ नेपाली र एक विदेशी सम्पर्कविहीन रहेको विवरण छ ।

त्यस्तै, लिफ होलिडेजबाट गएका ५५ जना सम्पर्कविहीन छन् । उनीहरूमध्ये ४६ भारतीय र ९ नेपाली छन् । कैलास जर्नीबाट गएका ३१ जनामध्ये २६ विदेशी र ५ नेपाली छन् ।

एक्स्प्लोर भ्याकेसनबाट गएका ७ नेपाली, ट्रेकर्स सोसाइटीका ९२ जना, रिचा टुर्स एन्ड ट्राभल्सका १२ जना तथा फिस्टेल टुर्स एन्ड ट्राभलका २७ जना पनि सम्पर्कविहीन रहेको बोर्डको विवरणमा उल्लेख छ ।

ट्रेकर्स सोसाइटीका ९२ जनामध्ये ७७ विदेशी र १५ नेपाली छन् । रिचा टुर्सका १२ जनामा ८ विदेशी र ४ नेपाली छन् भने फिस्टेल टुर्सका २७ जनामा २० विदेशी र ७ नेपाली छन् ।

यसैगरी हिमालयन ग्लेसियरबाट गएका ५२ जना सम्पर्कविहीन छन् । उनीहरूमध्ये ३७ विदेशी र १५ नेपाली छन् । अल्पाइन इको ट्रेकका २० जनामध्ये १६ विदेशी र ४ नेपाली पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ ।

बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क प्रभावित भएकाले पर्यटकको अवस्थाबारे थप विवरण संकलन भइरहेको छ ।

पर्यटन बोर्डले सम्बन्धित ट्राभल एजेन्सी, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी पर्यटकको अवस्थाबारे जानकारी लिने काम जारी राखेको जनाएको छ।

संसदमा आज : भोटेकोशी बाढीमा फसेकाहरूको तत्काल उद्धार गर्न माग

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार गर्न सांसदहरूले सरकारमाथि दबाब बढाएका छन् ।

बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति हुनुका साथै धेरै नागरिक सम्पर्कविहीन तथा उद्धारको पर्खाइमा रहेकाले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सांसदहरूले माग गरेका हुन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रभावित जिल्लाका सांसदहरूले विपद्को अवस्थामा राजनीतिक तथा अन्य विषयलाई थाती राखेर सरकारको पहिलो प्राथमिकता नागरिकको ज्यान जोगाउने हुनुपर्ने बताए ।

नुवाकोटका सांसद अर्जुननरसिंह केसीले बाढीपहिरोका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै युद्धस्तरमा उद्धार र राहत अभियान सञ्चालन गर्न सरकारसँग माग गरे ।

उनले अहिलेको परिस्थितिमा राज्यका सबै संयन्त्रलाई एकीकृत रूपमा परिचालन गर्नुपर्ने बताए । बाढीका कारण जोखिममा रहेका तथा बेपत्ता भएका नागरिकको खोजीलाई तीव्रता दिनुपर्ने उल्लेख गर्दै केसीले उद्धारपछि प्रभावितका लागि राहत र पुनःस्थापनाको स्पष्ट योजना आवश्यक रहेको बताए ।

केसीले बाढीबाट क्षतिग्रस्त ऐतिहासिक बजार तथा बस्तीको पुनर्निर्माणका लागि समेत सरकारले तत्काल एकीकृत प्याकेज घोषणा गर्नुपर्ने माग गरे । उनका अनुसार प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा उनीहरूको पुनःस्थापना गर्ने जिम्मेवारी पनि राज्यले लिनुपर्छ ।

रसुवाका सांसद मोहन आचार्यले बाढीबाट भएको क्षतिको प्रारम्भिक अवस्था नै अत्यन्त भयावह देखिएको बताए । उनले यो विपत्तिलाई सामान्य प्राकृतिक विपद्का रूपमा मात्र नहेरी गम्भीर राष्ट्रिय संकटका रूपमा लिएर सरकार तत्काल उद्धारमा केन्द्रित हुनुपर्ने बताए ।

बाढीका कारण सडक तथा यातायात सञ्जालमा क्षति पुगेकाले प्रभावित क्षेत्रमा स्थलमार्गबाट उद्धार गर्न कठिन भएको उनको भनाइ थियो । यस्तो अवस्थामा हेलिकप्टरबाटै उद्धार गर्नुपर्ने अवस्था रहेकाले उपलब्ध सबै हेलिकप्टर तत्काल रसुवा पठाउन आचार्यले माग गरे ।

उनले घाइते, बेपत्ता तथा बाढीका कारण विभिन्न स्थानमा अलपत्र परेका नागरिकको अवस्थाबारे तत्काल जानकारी लिनुपर्ने बताए । उद्धारका क्रममा सुरक्षाकर्मी, स्थानीय प्रशासन तथा अन्य सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि उनले बताए ।

सांसद वसुमाया तामाङले पनि उद्धारका लागि हेलिकप्टरसहितका सबै उपलब्ध स्रोतसाधन पूर्ण क्षमतामा परिचालन गर्न माग गरिन् ।

उनले बाढीका कारण सम्पर्कविहीन भएका नागरिक तथा सुरक्षाकर्मीको तत्काल खोजी गरी सुरक्षित स्थानमा ल्याउनुपर्ने बताइन् । उद्धारका लागि आवश्यक जनशक्ति, उपकरण र हवाई साधन पर्याप्त रूपमा परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले उद्धार कार्यमा कुनै ढिलाइ हुन नहुनेमा जोड दिइन् ।

बाढीबाट घरबारविहीन भएका हजारौँ नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न सरकारले निःशुल्क खाना तथा खानेपानी, अस्थायी बसोबास र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने तामाङको माग छ ।

घाइतेका लागि तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्दै उनले प्रभावित क्षेत्रमै आवश्यक स्वास्थ्य टोली र औषधि पुर्‍याउन पनि सरकारसँग आग्रह गरिन् ।

सांसदहरूले तत्कालको उद्धार र राहतसँगै बाढीबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्न उच्चस्तरीय टोली परिचालन गर्नुपर्ने मागसमेत गरेका छन् ।

बाढीले घर, सडक, पुल, बजार, जलविद्युत् आयोजना तथा अन्य सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको अवस्थामा वास्तविक क्षतिको विवरण संकलन गरी पुनर्निर्माणको योजना बनाउनुपर्ने उनीहरूको भनाइ छ ।

वसुमाया तामाङले प्रभावित क्षेत्रको जनधन तथा पूर्वाधार क्षतिको मूल्याङ्कन गरी दीर्घकालीन पुनःस्थापना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् । पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने गरी सरकारले विशेष प्याकेज ल्याउनुपर्ने उनको माग छ ।

भोटेकोशीमा आएको बाढी रसुवा हुँदै त्रिशूली नदीमा मिसिने भएकाले नुवाकोट, धादिङ, चितवनलगायत तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको छ ।

नदीको बहाव बढ्ने क्रम जारी रहेकाले नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासन र सुरक्षा निकायले आग्रह गरिरहेका छन् ।

प्रतिनिधिसभामा सांसदहरूले पनि जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कामलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् ।

स्थानीय प्रशासनसँग समन्वय गरी उद्धार तथा राहतलाई तीव्रता दिनुपर्ने र सम्भावित जोखिम भएका क्षेत्रमा अनावश्यक आवागमन रोक्नुपर्ने उनीहरूको भनाइ छ ।

भोटेकोशी बाढीका कारण ठूलो भौतिक क्षति भएको र अझै पनि केही नागरिक सम्पर्कविहीन रहेको अवस्थामा सांसदहरूले सरकारलाई तत्काल उपलब्ध सबै स्रोतसाधन परिचालन गरेर ‘पहिले नागरिकको ज्यान जोगाउने, त्यसपछि राहत र पुनःस्थापना’ को रणनीतिमा अघि बढ्न आग्रह गरेका छन् ।

भोटेकोशीको बाढी कोशीमा पुग्यो, सुनसरी-सप्तरीमा सतर्कता

जनकपुरधाम । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीको असर कोशी नदीमा समेत देखिन थालेको छ।

कोशी नदीको जलसतह बढ्दै गएपछि सुनसरी र सप्तरीका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

भोटेकोशी तथा त्रिशूली नदी हुँदै आएको बाढीका कारण कोशी नदीमा पानीको बहाव बढिरहेको हो । कोशी ब्यारेजको पछिल्लो विवरणअनुसार नदीमा पानीको बहाव १ लाख ३१ हजार ३४० क्युसेक पुगेको छ । बहाव निरन्तर बढिरहेको जनाइएको छ ।

पानीको बहाव बढेपछि कोशी ब्यारेजका १५ वटा ढोका खोलिएका छन् । ब्यारेजको विवरणमा नदीको अवस्था खतरा तहमा पुगेको उल्लेख छ ।

यसअघि तिब्बती क्षेत्रबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत तल्लो तटीय क्षेत्रमा जोखिम बढेको थियो । भोटेकोशी र त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत बढ्न सक्ने भएकाले कोशी नदी आसपासका बासिन्दालाई समेत सावधानी अपनाउन भनिएको छ । जोखिम बढे तत्काल सुरक्षित स्थानतर्फ जान र नदी तथा खोलाको किनारमा नजान सम्बन्धित निकायले आग्रह गरेका छन् ।

यस्तै, सम्भावित जोखिमलाई मध्यनजर गर्दै खोज तथा उद्धारमा खटिने निकायलाई तयारी अवस्थामा रहन भनिएको छ ।

कोशी नदीको बहाव अझै बढ्न सक्ने भएकाले सुनसरी, सप्तरीलगायत कोशी तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

भोटेकोशी र त्रिशूलीमा बाढीपछि जय नेपाल पार्टीद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट जनधन तथा भौतिक संरचनामा भएको क्षतिप्रति जय नेपाल पार्टीले दुःख व्यक्त गरेको छ।

पार्टी केन्द्रीय कार्यालय चाबहिलबाट जारी प्रेस विज्ञप्तिमार्फत नदी तटीय क्षेत्र, आसपासका बस्ती तथा बजारमा बाढीको जोखिम बढिरहेको भन्दै स्थानीय बासिन्दालाई उच्च सावधानी र सतर्कता अपनाउन अपिल गरिएको हो।

जय नेपाल पार्टीले विपद्को यस आपत्कालीन अवस्थामा बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाहलाई समेत ध्यानमा राख्दै उद्धार, राहत, विपद् व्यवस्थापन तथा क्षति न्यूनीकरणका कामलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ।

पार्टीले प्रभावित क्षेत्रमा तत्काल आवश्यक सम्पूर्ण सरकारी संयन्त्र परिचालन गर्न तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

बाढीका कारण नदी तटीय क्षेत्रमा थप जोखिम बढ्न सक्ने भएकाले सम्भावित क्षति न्यूनीकरणका लागि समयमै आवश्यक कदम चाल्नुपर्नेमा पार्टीले जोड दिएको छ।

जय नेपाल पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीद्वारा जारी विज्ञप्तिमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहतलाई तत्काल प्राथमिकतामा राख्न सरकारसँग माग गरिएको छ।

रसुवा बाढीमा चीनको चासो, सी र लीले दिए उद्धारमा जोड

काठमाडौं। रसुवा र चीनको केरुङ क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएपछि चीनले पनि घटनाप्रति उच्च तहमा चासो देखाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले विपद्पछि बेपत्ता नागरिकको खोजी, उद्धार तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अगस्ट २६ को बिहान करिब १०ः३० बजे सिचाङ (तिब्बत)को शिगात्से सहरअन्तर्गत केरुङ काउन्टीको केरुङ बन्दरगाह क्षेत्रमा नेपालतर्फ पहिरो गएको थियो । त्यसपछि आएको बाढीले नेपालतर्फको रसुवा क्षेत्रमा समेत ठूलो क्षति पुर्‍याएको हो ।

घटनालाई गम्भीरतापूर्वक लिँदै राष्ट्रपति सीले बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न, घाइतेको उपचार गर्न तथा मानवीय क्षति न्यूनीकरणका लागि उपलब्ध सबै उपाय परिचालन गर्न उनले भनेका छन् ।

सीले विपद्को निरन्तर निगरानी र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन पनि निर्देशन दिएका छन् । उद्धार कार्य वैज्ञानिक ढंगले सञ्चालन गर्न तथा बाढीपहिरोबाट थप क्षति हुन नदिन सम्भावित जोखिम क्षेत्रको पहिचान र आवश्यक सावधानी अपनाउन उनले सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

चिनियाँ राष्ट्रपति सीले चीन अहिले बाढी नियन्त्रणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै बाढी तथा आँधीबेहरीको जोखिम न्यूनीकरणका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै क्षेत्र र सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सम्भावित लुकेका जोखिमको पहिचान गरी समयमै न्यूनीकरण गर्न तथा ठूला विपद् र दुर्घटना रोक्न विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले केरुङ क्षेत्रमा भएको बाढीपहिरोपछि बेपत्ता तथा प्रभावित नागरिकको संख्या तत्काल यकिन गर्न निर्देशन दिएका छन् ।

उनले खोज तथा उद्धारका लागि आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गर्न तथा जोखिममा रहेका मानिसलाई तत्काल र व्यवस्थित रूपमा सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन् । उद्धारका क्रममा वैज्ञानिक विधि अपनाउन र उद्धार टोलीको सुरक्षालाई समेत ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् ।

प्रधानमन्त्री लीले चिनियाँ विदेश मन्त्रालयलाई नेपालसँगको सञ्चार तथा समन्वय थप बलियो बनाउन र घटनाबारे आवश्यक जानकारी तत्काल आदानप्रदान गर्न निर्देशन दिएका छन् । नेपालमा समेत बाढीपहिरोबाट ठूलो क्षति भएको अवस्थामा दुवै पक्षबीच समन्वय गरी उद्धार तथा विपद् व्यवस्थापनका काम अघि बढाउनुपर्ने उनको भनाइ छ ।

चीनमा बाढीको मुख्य मौसम चलिरहेको उल्लेख गर्दै लीले राज्य बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयलगायत सम्बन्धित निकायलाई विभिन्न क्षेत्रमा रहेका सम्भावित विपद् जोखिमको व्यापक अध्ययन गर्न निर्देशन दिएका छन् । पूर्वसूचना प्रणाली बलियो बनाउँदै जोखिम न्यूनीकरणका उपाय प्रभावकारी रूपमा लागू गर्न पनि उनले जोड दिएका छन् ।

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति भएको छ । बाढीले बस्ती, सडक, पुल तथा सरकारी कार्यालयसँगै जलविद्युत् र प्रसारण संरचनामा समेत क्षति पुर्‍याएको प्रारम्भिक विवरण आएको छ ।

बाढीको बहाव भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ बढेकाले रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्मका तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको छ । नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेको सूचनापछि भोटेकोशी र त्रिशूली नदी आसपासका नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ ।

नेपालमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुरक्षा निकायसहित विभिन्न सरकारी संयन्त्र परिचालन भइरहेका बेला चीनको उच्च तहबाट समेत खोज तथा उद्धार र जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन निर्देशन आउनुलाई घटनाको गम्भीरताका रूपमा हेरिएको छ ।

तीन वर्षीया बालिका गरिमाको बलात्कारीलाई कडा सजाय दिन लावतीको माग

काठमाडौं । जय नेपाल पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

एक प्रेस विज्ञप्ति जारी गर्दै लावतीले घटनालाई अमानवीय, क्रुर र शर्मनाक भन्दै दोषीमाथि शीघ्र कानुनी अनुसन्धान गरी हदैसम्मको सजाय दिन सरकारसँग माग गरेका हुन्।

लावतीले आफ्नै घर तथा समाजमा समेत बालबालिका असुरक्षित रहने अवस्था गम्भीर चिन्ताको विषय बनेको बताएका छन्। उक्त घटनाले नागरिक सुरक्षाका सवालमा राज्य र प्रशासनमा विद्यमान कमीकमजोरीसमेत उजागर गरेको उनको भनाइ छ।

उनले घटनाको जिम्मेवारपूर्ण र प्रभावकारी कानुनी अनुसन्धान शीघ्र सम्पन्न गरी घटनामा संलग्न दोषीलाई कानुनअनुसार कडा सजाय दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

न्यायको सर्वव्यापी मान्यताअनुसार पीडित पक्षलाई यथाशीघ्र न्याय दिलाउनुपर्नेमा जोड दिँदै उनले भविष्यमा यस्ता जघन्य अपराध दोहोरिन नदिन दोषीलाई कानुनबमोजिम कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरेका छन्।

बालबालिकाको सुरक्षा राज्यको प्राथमिक दायित्व भएको भन्दै उनले यस्ता घटनाको निष्पक्ष अनुसन्धान, प्रभावकारी कानुनी कारबाही र नागरिक सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

सगुन सुन्दर लावतीले भदौ ९ गते जारी गरेको प्रेस विज्ञप्तिमा उक्त धारणा सार्वजनिक गरेका हुन्। लावती सचिवालय प्रमुखका रूपमा उल्लेख गरिएको छ।

भोटेकोशी बाढी : उद्धारलाई पहिलो प्राथमिकता दिन अर्जुननरसिंह केसीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै अहिले राज्यको सम्पूर्ण ध्यान उद्धारमा केन्द्रित हुनुपर्ने बताए।

‘सबैभन्दा अहिले उद्धारको क्षेत्रलाई केन्द्रित गर्नुपर्ने छ । त्यसपछि राज्यको दायित्व भनेको राहतको हो,’ उनले भने।

उनले बाढीको जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न र उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरे। उद्धारपछि प्रभावितलाई राहत र पुनःस्थापनामा राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

भोटेकोशी बाढीका कारण रसुवासहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रतिनिधिसभामा समेत विपद्को अवस्थाबारे छलफल भइरहेको छ।

रसुवा, नुवाकोट र धादिङ तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले तीन जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सम्पूर्ण काम अघि बढाउने निर्णय गरेको हो।

बैठकले सबै मन्त्रीलाई आ–आफ्नो मन्त्रालयअन्तर्गत आवश्यक कामको समन्वय र व्यवस्थापनका लागि प्रभावित क्षेत्रमा खटिनसमेत निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए।

बाढीबाट तीनवटै जिल्लामा ठूलो भौतिक क्षति भएको छ भने केही क्षेत्रमा मानवीय क्षतिको विवरणसमेत संकलन भइरहेको छ।

भोटेकोसी बाढीबारे एमालेले बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौं। भोटेकोसी नदीमा आएको भीषण बाढीपछि नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठक दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ।

बैठकले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि पार्टीका तर्फबाट चाल्नुपर्ने कदमबारे निर्णय गर्ने बताइएको छ।

भोटेकोशी बाढीमा डडेल्धुराका नौ कामदार सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि जलविद्युत् आयोजनामा कार्यरत डडेल्धुराका नौ जना कामदार सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन हुनेमा आलिताल गाउँपालिका–३ कान्तिपुरका उमेश बुढा, लक्ष्मण रामजाली, गौरव रामजाली, गोविन्द रामजाली, सुन्दर बुढामगर र दिनेश रामजाली तथा आलिताल–७ नाउलीका दीपक घर्तीमगर, राजेश घर्तीमगर र किरण घर्तीमगर छन्।

उनीहरूसँगै काम गर्ने स्थानीय सुनील बुढामगरका अनुसार आलिताल–३ बाट आयोजनामा पुगेका ६ जना र वडा नम्बर ७ का तीन जना गरी नौ जना सम्पर्कविहीन भएका हुन्।

सुनीलका बुबा तथा आलिताल–३ का वडाध्यक्ष बलबहादुर बुढामगरका अनुसार सुनील बुधबार काममा नगएकाले आफू सुरक्षित रहेको जानकारी दिएका थिए। तर, अहिले उनीसँग समेत सम्पर्क हुन नसकेको उनले बताएका छन्।

बाढीपछि सम्पर्कविहीन कामदारको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

रसुवा, नुवाकोट र धादिङ तीन महिना विपत् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्को आकस्मिक बैठकले तीनवटै जिल्लालाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढीबाट प्रभावित तीन जिल्लामा उद्धार, राहत तथा पुनःस्थापनासहित आवश्यक कामलाई तीव्रता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

बाढीका कारण रसुवासहित नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको तथा नदी तटीय क्षेत्रमा जोखिम बढेको भन्दै सरकारले प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाउने निर्णय गरेको हो।

बैठकले तीनवटै जिल्लामा आवश्यक पर्ने कामको पहिचान गरी तत्काल कार्यान्वयनमा लैजान सबै मन्त्रीलाई आ–आफ्नो मन्त्रालयको जिम्मेवारीअनुसार फिल्डमै खटिन निर्देशनसमेत दिएको छ।

सरकारले सम्बन्धित मन्त्रालय र निकायबीच समन्वय गरी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आवश्यक पूर्वाधार व्यवस्थापनको काम अघि बढाउने तयारी गरेको छ। साथै, प्रभावित नागरिकको तत्काल उद्धार र राहतलाई प्राथमिकतामा राखेर आवश्यक स्रोत तथा जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक बाढीबाट उत्पन्न पछिल्लो अवस्थाबारे छलफल गर्न बसेको थियो। बैठकले प्रभावित तीन जिल्लामा सरकारी संयन्त्रलाई थप सक्रिय बनाउँदै विपद् व्यवस्थापनका कामलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको हो।

नुवाकोटमा राप्रपा अध्यक्षको चारतले घर बाढीले बगायो, ४० जना डाँडामा

काठमाडौं। नुवाकोटमा आएको भीषण बाढीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटका अध्यक्ष कुलबहादुर खड्गीको चारतले पक्की घर बगाएको छ ।

बाढी आउनुअघि परिवारसहित भागेर उनीहरूले ज्यान जोगाएका छन् ।

विदुर नगरपालिका–१, पुरानो पुलनजिक रहेको खड्गीको घर बिहान करिब ९ बजे आएको बाढीले बगाएको हो । बाढीले घरसँगै आसपासको बस्तीमा समेत ठूलो क्षति पुर्‍याएको छ ।

खड्गीका अनुसार उनीसहित करिब ४० जना स्थानीय बजारभन्दा करिब २ सय मिटरमाथिको डाँडामा पुगेर उद्धारको पर्खाइमा छन् ।

उनले बाढीबारे सूचना ढिला आएकाले समयमै सुरक्षित हुन नसकेको बताए । उनका अनुसार यसअघि केही घण्टा अगावै सूचना आउने गरे पनि बुधबार करिब आधा घण्टा अगाडि मात्रै जानकारी आएको थियो ।

स्थानीय पत्रकारबाट बिहान साढे ८ बजेतिर फोन आएपछि हतारहतार गाडी मगाएर परिवारसहित भागेको उनले बताए । घरबाट लगाएको कपडा र केही नगदबाहेक अन्य सामान निकाल्न नपाएको खड्गीको भनाइ छ ।

उनका अनुसार पुल क्षेत्रमा बाढी एक्कासि पसेको थियो । केहीबेरमै चारतले घरसमेत बगाएपछि आफूहरू घरबारविहीन भएको उनले बताए ।

बाढीका कारण डाँडातर्फ जाने बाटोसमेत सहज नभएको र बस्तीभन्दा करिब १ सय मिटर माथिसम्म लेदो पानी पुगेको खड्गीले बताएका छन् ।

नदीमा फेरि ठूलो बाढी आउन सक्ने खबरले स्थानीय थप त्रसित बनेका छन्।

नदी थुनेर बनेको ताल अझै खुलेन, भोटेकोशी-त्रिशूलीमा बाढीको जोखिम कायमै

काठमाडौं। चीनतर्फबाट प्राप्त सूचनाअनुसार हिमपहिरोपछि नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेपछि भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ ।

नेपाल बाढी सूचना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सूचना जारी गर्दै नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेको जनाएको हो ।

बुधबार दिउँसो १ः३५ बजे जारी सूचनामा अर्को सूचना जारी नभएसम्म भोटेकोशी र त्रिशूली नदीको किनार तथा आसपासका क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ ।

ताल पूर्ण रूपमा नखुलेका कारण नदीको बहावमा थप वृद्धि हुन सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

रसुवा भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवा भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्।

आज बिहान भोटेकोसी नदीमा आएको बाढीपछि भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरूसँग सम्पर्क हुन नसकेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार सम्पर्कविहीन हुनेमा ११ जना स्थायी र तीन जना करारका कर्मचारी रहेका छन्।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना कर्मचारी भने सम्पर्कमा आएका छन्। कार्यालयमा कार्यरत अन्य कर्मचारीसँग पनि सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको जनाइएको छ।

भन्सार कार्यालयमा चार जना करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेकामा एक जना भने सम्पर्कमा आएका छन्। बाढीका कारण टिमुरे क्षेत्रमा समेत ठूलो जोखिम उत्पन्न भएकाले कर्मचारीहरूको अवस्थाबारे थप विवरण संकलन भइरहेको छ।

भोटेकोसीमा आएको बाढीका कारण रसुवाको टिमुरे तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले विभिन्न सरकारी तथा निजी संरचनामा क्षति पुर्‍याउनुका साथै नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिक र कार्यरत कर्मचारीसमेत प्रभावित भएका छन्।

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन, नेपाल प्रहरीका ३२ र सशस्त्रका ९ जना

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४१ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। बाढीको तीव्र बहावका कारण सुरक्षाकर्मी बसेको तथा परिचालन भएको क्षेत्रमा समेत क्षति पुगेपछि उनीहरू सम्पर्कविहीन भएको जनाइएको छ।

प्राप्त विवरणअनुसार नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरी बलका ९ जना गरी कुल ४१ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका हुन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहे पनि सम्पर्कविहीन सुरक्षाकर्मीको अवस्थाबारे तत्काल स्पष्ट जानकारी आउन सकेको छैन।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार अहिलेसम्म ३२ जना नेपाल प्रहरीका सुरक्षाकर्मी सम्पर्कविहीन छन्। बाढीले प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कमा समेत समस्या उत्पन्न भएकाले सुरक्षाकर्मीको अवस्थाबारे विवरण संकलन गर्न कठिनाइ भइरहेको बताइएको छ।

नुवाकोटमा भौतिक संरचना तहसनहस,मानवीय क्षति यकिन छैन

काठमाडौं । भोटेकोशी हुँदै आएको भीषण बाढीले नुवाकोटको त्रिशूली बजार र आसपासका बस्तीमा ठूलो भौतिक क्षति पुर्‍याएको छ । बाढीले केही बस्ती नै बगाएको प्रारम्भिक जानकारी आएको छ ।

बाढीबाट मानवीय क्षति कति भयो भन्ने यकिन विवरण भने आइसकेको छैन । क्षतिको विवरण संकलन तथा प्रभावितको खोजी भइरहेको छ ।

उद्धार तथा राहतका लागि स्थानीय तहले सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

उद्धार कार्यका लागि नेपाली सेनाको हेलिकप्टरसमेत परिचालन गरिएको जनाइएको छ । प्रभावित क्षेत्रमा फसेका नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकता दिइएको छ ।

बाढीको जोखिम कायमै रहेकाले त्रिशूली नदी आसपासका बस्तीमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

संसदमा गृहमन्त्रीले भोटेकोशी बाढीबारे जानकारी दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीपछिको अवस्था र सरकारले अघि बढाएका खोज, उद्धार तथा राहतका कामबारे जानकारी गराउने भएका छन् ।

केही बेरमा बस्ने बैठकमा बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेको उद्धार, राहत तथा खोजी कार्यबारे गृहमन्त्रीले संसद्लाई जानकारी दिने संसद् सचिवालयले जनाएको छ ।

भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा क्षति पुर्‍याएपछि आजको बैठकको कार्यसूची परिवर्तन गरिएको हो ।

यसअघि तय भएको प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने स्थगित भएको छ ।

आजको बैठकमा गृहमन्त्रीको जानकारीपछि आकस्मिक समय राख्ने र यसअघि तय गरिएका अन्य कार्यसूची हटाउने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।