`

थापाथलीस्थित बागमती नदी किनारामा बनेको पार्क, यस्तो देखियो

काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती करडोरस्थित नदी किनारमा निर्माण गरेको पार्क अन्तिम चरणमा पुगेको छ । पार्कको मंसिर १६ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पार्कमा अहिले व्यायाम गर्न मिल्ने एक्सरसाइज़ जोन, साना बच्चाहरूका लागि प्लेजोनका साथै बेन्च लगायत अन्य विभिन्न सामग्रीहरू राखिएका छन् । जसले गर्दा पार्क सुन्दर देखिएको छ ।

निर्माणको अन्तिम चरणमा रहेको सो पार्क वर्षाको समयमा भने बाढीको असर पर्न सक्ने जोखिम उस्तै छ ।

विराटनगर ‘मेनरोड’ को उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

विराटनगर । विराटनगर महानगरपालिका मेनरोड नजिक रहेको एक प्लाष्टिक उद्योगको गोदाममा आगलागी भएको छ । आज विहानबाट सुरु भएको भिषण आगलागी केहीबेर अघि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरिक्षक अनमोल खड्काका अनुसार वडा नियन्त्रण बाहिर गएको आगलागी नियन्त्रणका लागि विराटनगर महानगरपालिकाबाट दुई वटा र सुनसरीको दुहबीबाट एउटा वारुणयन्त्र, स्थानीय र सुरक्षा निकायले सहजीकरण गरेका थिए ।

प्रहरीका अनुसार सरस्वती प्लाष्टिक उद्योगको गोदाममा विहान एकाएक आगलागी भएपछि स्थानीयमा केही समय त्रास फैलिएको थियो । उद्योग नजिक थुपारिएको प्लास्टिकका फोहोरको डंगुरमा अचानक आगो सल्किएको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्लास्टिक फोहोर जलाउने क्रममा आगो अनियन्त्रित भएको थियो । निजी आवासतर्फ आगो फैलन नदिन विराटनगर महागनरपालिकाको दमकलसहित प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ ।

 

काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना झापामा पक्राउ

झापा । जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोली समेत बरामद गरेको छ। पक्राउ पर्नेमा दमक–६ प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देन, दमक–९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली–४ आइतबारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गए राति लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट प्रहरी नायब निरीक्षक कुमार सोमेस लामिछानेको कमाण्डमा खटिएको टोली र दमक इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको संयुक्त टोलीले दमक–८ मा डेरा गरी बसेका सरोज पुरीलाई कोठा बाहिर हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनको साथबाट ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान र १५ राउण्ड गोली बरामद भएको ब्यूरोले जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि उनलाई इलाका प्रहरी कार्यालयमा बुझाइएको थियो।

प्रहरीले सोधपुछ गर्दा पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ राखेको बयान दिएका थिए। त्यसैका आधारमा प्रहरीले लिङ्देनलाई घरमै पुगेर पक्राउ गरेको थियो। थप सोधपुछमा विश्व लिङ्देनले सो हतियार इलाम चुलाचुली–४ बस्ने पवन हाङसुङ्वालाई रु २० हजारमा बिक्री गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । पछि लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालयको संयुक्त टोली हाङसुङ्वाको बारीमा पुगेको थियो।

त्यहाँ खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाएर राखिएको अवस्थामा ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान तथा पाँच राउण्ड गोली पेस्तोलमै लोड गरिएको, खिया लागेको अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ । हाङसुङ्वालाई समेत नियन्त्रणमा लिएर दमकमा ल्याइएको छ । बरामद दुवै हतियार र २० राउण्ड गोलीसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

एनपिएल : ‘बलिङ’ मा नेपाली र ‘ब्याटिङ’ मा विदेशी खेलाडी चम्किए

काठमाडौं । काठमाडौं कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको सोमबारसम्म १० खेल सम्पन्न भइसकेका छन् । आठ टिम सहभागी प्रतियोगितामा हालसम्मको नतिजामा सुदूरपश्चिम रोयल्स अग्रस्थानमा छ । लगातार तीन खेल जितेर छ अङ्कका साथ सुदूरपश्चिम शीर्षस्थानमा छ । समान तीन खेल खेलेर छ अङ्क नै जोडेको विराटनगर किग्ङ्स रनरेटका आधारमा दोस्रो स्थानमा छ । तीनमध्ये एक खेल जितेको काठमाडौँ तेस्रो, तीनमध्ये एक खेल नै जितेको लुम्बिनी लायन्स चौथो स्थानमा छ ।

चितवन राइनोज पाचौँ, कर्णली याक्स छैटौँ, साविक उपविजेता जनकपुर बोल्ट्स सातौँ र पोखरा एभेन्जर्स तालिकाको पुछारमा छ । दश खेल सम्पन्न भइसक्दा ब्याटिङमा विदेशी खेलाडीको प्रदर्शन उच्च देखिएको छ । बलिङतर्फ भने नेपाली खेलाडी अग्रस्थानमा छन् । कर्णाली याक्सबाट खेलिरहेका विदेशी खेलाडीको सबैभन्दा बढी एक सय ४७ रन बनाएका छन् । उनी हालसम्म सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा छन् । उनले प्रतियोगितामा शतकसमेत बनाएका थिए । जुन जारी सिजनको एकमात्र शतक हो ।
त्यसैगरी, उच्च स्कोर बनाउनेको सूचीमा पनि विदेशी खेलाडी नै छन् । चिनवन राइनोजका रवि बोपरा एक सय १८ रन बनाउँदै दोस्रो उच्च स्कोर बनाउने खेलाडीको सूचीमा छन् । रविले जारी प्रतियोगितामा दुई अर्धशतक समेत हिर्काइसकेका छन् ।

प्रतियोगितामा तेस्रो र चौथो उच्च स्कोर बनाउनेको सूचीमा भने नेपाली खेलाडी रहेका छन् । हालसम्म एक सय १४ रन बनाएका विराटनगर किग्ङ्सका लोकेश बम तेस्रो स्थानमा छन् । उनले एक अर्धशतक प्रहार गरिसकेका छन् । चौथो नम्बरमा रहेका पोखरा एभन्जर्सका कप्तानसमेत रहेका कुशल भुर्तेलले एक सय १२ रन बनाएका छन् । यसमा उनले दुई अर्धशतक जोडेका थिए ।

यसैबीच हालसम्मको बलिङ प्रदर्शन हेर्ने होभने नेपाली खेलाडी प्रथम स्थान रहेका छन् । विराटनगर किङ्सका कप्तान समेत रहेका सन्दीप लामिछाने सात विकेट लिँदै प्रथम स्थानमा छन् । दोस्रो नम्बरमा भने विदेशी खेलाडी रहेका छन् । सुदूरपश्चिमबाट खेलिरहेका हर्मित सिंह छ विकेटसहित दोस्रो स्थानमा छन् । सर्वाधिक विकेट लिने तेस्रो, चौथो नम्बरमा भने नेपाली खेलाडी अगाडि छन् । छ विकेट लिएका कर्णली याक्सका सोमपाल कामी तेस्रो र समान छ विकेट नै लिएका काठमाडौँका कप्तान करण केसी चौथो नम्बरमा छन् । पाँच विकेट लिएर पाँचौँ स्थानमा भने कर्णाली याक्समा अनुवन्धित विदेशी खेलाडी मिलिन्द कुमार छन् । उच्च रन बनाउनेको पाँचौँ नम्बरमा १०२ रन बनाएका कर्णाली याक्समा अनुबन्धित प्रियान्क पन्चाल रहेका छन् । उनले एक अर्धशतक समेत प्रहार गरेका छन् ।

प्रतियोगितामा एक शतक, दश अर्धशतक

जारी प्रतियोगितामा हालसम्म एक शतक र दश अर्धशतक प्रहार भएका छन् । यसमा विदेशी खेलाडी नै अगाडि छन् । प्रतियोगिताको एकमात्र शतक कर्णाली याक्सका विदेशी खेलाडी मार्क वाटले हिर्काएका छन् । उनले लुम्बिनी लायन्सविरुद्ध विस्फोटक शतकीय इनिङ खेलेका थिए । लुम्बिनीविरुद्ध एक सय १४ रनको अविजित इनिङ खेलेका वाटले ४१ बलमै शतक पूरा गरे । उनी एनपिएलमा सबैभन्दा छिटो शतक बनाउने ब्याटर समेत हुन् ।

मार्क वाट एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने ब्याटरसमेत बने । उनीअघि प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए । गत वर्ष लुम्बिनीविरुद्ध नै गौसले एक सय चार रनको शतकीय इनिङ खेलेका थिए । यसक्रममा गौसले ५४ बलमा शतक बनाएका थिए ।

प्रतियोगितामा कुल १० अर्धशतक बने पनि नेपालबाट भने तीन ब्याटरले मात्रै एक इनिङमा ५० रन पूरा गरेका छन् । नेपालका कुशल भुर्तेल, लोकेश बम र आसिफ सेखले अर्धशतक बनाएका छन् । यसमध्ये पोखरा एभेन्जर्सका भुर्तेल लगातार दुई खेलमा अर्धशतक बनाउने एकमात्र नेपाली ब्याटर हुन् । कुशलसँगै चितवन राइनोजका रवि बोपाराले पनि दुई अर्धशतक बनाएका छन् । यसबाहेक कर्णाली याक्सका प्रियाङ्क पन्चाल, विराटनगर किङ्ग्सका लोकेश बम र मार्टिन गप्टिल, सुदूरपश्चिम रोयल्सका जोस ब्रोन, हर्मित सिंह र जनकपुर बोल्ट्सका सेखले अर्धशतक बनाएका छन् ।

कीर्तिमानी टिमको स्कोर बनाउने विराटनगर, कम बनाउने कर्णाली

जारी प्रतियोगितामा उच्च स्कोर बनाउने टिममा विराटनगर रहेको छ । उसले पोखराविरुद्ध दुई सय २० रन बनाएको थियो । जुन एनपिएल इतिहासकै उच्च स्कोर हो । दोस्रो उच्च बनाउने टिमको सूचीमा भने सुदूरपश्चिम छ । सुदूरले पनि पोखराविरुद्ध नै एक सय ९३ रन जोडेको थियो । जारी सिजनमा सबैभन्दा कम स्कोर बनाउनेको सूचीमा कर्णाली छ । सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको कर्णाली ९४ रनमा समेटिएको थियो । उक्त स्कोर प्रतियोगिताकै कम हो ।
– विनोदसिंह विष्ट / रासस

निर्वाचनका लागि दल दर्ता गराउने समय दुई दिन मात्रै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आज (मंगलबार) समेत दुई दिन मात्रै बाँकी छ । निर्वाचन आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईका अनुसार अब निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले आज मंसिर ९ र भोलि १० गतेसम्म मात्र दर्ता हुन पाउने छन् । निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ ।

‘निर्वाचन प्रयोजनका लागि हिजो बेलुकीसम्म ६४ दल दर्ता भएका छन्’, प्रवक्ता भट्टराईले भने, ‘अब दल दर्ता गराउने समय आज र भोलि मात्र बाँकी छ ।’ आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् ।

आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ ।
आयोगका अनुसार यही मंसिर १ गते १२, मंसिर २ गते पाँच, मंसिर ३ गते आठ, ४ गते आठ, ५ गते सात, ७ गते १६ राजनीतिक दल दर्ता भएका थिए । सोमबार नागरिक शक्ति नेपाल, नागरिक उन्मुक्ति पार्टी, मितेरी पार्टी नेपाल, प्रगतिशील समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय समुन्नति पार्टी, जनादेश पार्टी, नेपाल दर्ता भएका थिए । आयोगमा कूल १३५ राजनीतिक दल दर्ता भएकामा निर्वाचन प्रयोजनका लागि बुधबारसम्म पुनःआवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।

संसद् पुनर्स्थापना हुन्छ, आशावादी छौं : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान राजनीतिक घटनाक्रमको बीचमा संसद् विघटन र संसद् बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था नै नभएको बताएका छन् । कोशी प्रदेशसभा भवनमा गत भदौ २४ गते आन्दोलनका क्रममा भएको आगजनीपछिको निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले वर्तमान विवाद समाधानको मार्ग न्यायालयमै खुल्ने विश्वास व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले चलिरहेको राजनीतिक विवाद सर्वोच्च अदालतमा पुगेको उल्लेख गर्दै भने, ‘विषय न्यायालयमा गएको छ । न्याय ठीक ढंगले हुँदा संसद् पुनर्स्थापना भएर जान्छ भन्ने हाम्रो आशा छ ।’ सभामुख घिमिरेले कोशी प्रदेशसभामा भएको क्षति दुःखद् भएको र यसको पुनर्निर्माण तथा सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।

 

मन्त्री पुनको निर्देशन : बाल कक्षाका शिक्षक–कर्मचारीलाई अन्याय नगर, थपेर तलब देऊ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बाल कक्षाका शिक्षकसहितका कर्मचारीको तलबका लागि मन्त्रालयबाट अनुदान रकम पठाइसकिएको जानकारी गराउँदै त्यसमा थपेर उनीहरूलाई पारिश्रमिक दिन स्थानीय सरकारहरूलाई निर्देशन दिएका छन् ।

उनका अनुसार शिक्षा मन्त्रालयले बालकक्षा शिक्षकका लागि १२ हजार, विद्यालय सहयोगीका लागि १० हजार र विद्यालय सहायक कर्मचारीका लागि १५ हजारका दरले तलब पठाइसकेको छ । बाँकी अपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक रकममा नघट्ने गरी स्थानीय सरकारले थप्नु पर्नेछ ।

अहिलेसम्म झण्डै ७०० स्थानीय सरकारले थपेर न्यूनतम पारिश्रमिकअनुसार तलब दिएको जानकारी प्राप्त भएको शिक्षामन्त्री पुनले बताएका छन् । उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो विषय न्यूनतम तलब नदिएका स्थानीय सरकारहरूको जिम्मेवारी भएको अवगत गराउँछु । बाल शिक्षकहरू र कर्मचारीहरूलाई अन्याय नगर्नुहोला । यस विषयमा ट्रेड युनियनका नेताहरू खोई जागेको ?

 

एमाले महाधिवेशन प्रतिनिधि छनोट : निर्देशन, विवाद र छानबिनसँगै बढ्यो चहलपहल

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिँदै गर्दा देशभरि प्रतिनिधि छनोट प्रक्रिया तीव्र बन्दै गएको छ । यही तयारीबीच पार्टीको संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ भने कैलालीमा चाहिँ केही नेता–कार्यकर्ताको संगठित सदस्यता सूचीबाटै ‘हराए’ पछि विवाद बढेको छ र छानबिन समेत सुरु भएको छ ।

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार भर्चुअल बैठकमार्फत महाधिवेशन प्रतिनिधि चयनका लागि आवश्यक मार्गदर्शन तय गरिएको हो । निर्देशनअनुसार कुनै पनि जिल्लाले निर्वाचन प्रक्रियामा प्रवेश गर्नु अघि आफ्नो क्षेत्रको अन्तिम मतदाता नामावली सार्वजनिक गर्नै पर्नेछ । केन्द्रले पठाएको पछिल्लो परिपत्रलाई नै आधार मान्न भनिएको छ ।

साथै प्रत्येक जिल्लाले अन्तिम मतदाता संख्याबारे तत्क्षण केन्द्रलाई जानकारी दिनुपर्नेछ । सर्वसम्मतिबाट प्रतिनिधि छनोट गर्नका लागि १२ गते साँझसम्म प्रयास गर्ने, त्यसमा सफलता नपाए १३ गते अनिवार्य रूपमा निर्वाचनको बाटो समातिने निर्देश गरिएको छ । विभागका अनुसार कुनै पनि कारण देखाएर १३ गतेको कार्यक्रम सार्न नपाइनेछ । केही ठाउँमा प्रतिनिधि उम्मेदवारी शुल्क अस्वाभाविक रूपमा बढाइएको सूचनापछि अधिकतम शुल्क १ हजार रुपैयाँ तोकिने व्यवस्था समेत गरिएको छ ।

यता, कैलालीमा भने प्रतिनिधि आकांक्षी रहेका दर्जनौँ नेता–कार्यकर्ताको नाम नै केन्द्रीय संगठन विभागले प्रमाणित गरेको सूचीमा नदेखिएपछि अन्योल र असन्तुष्टि बढेको छ । प्रदेशसभा निर्वाचनदेखि जिल्ला सचिवालयसम्म जिम्मेवारी सम्हालिसकेका १३ जनाको संगठित सदस्यता सूचीमै नाम नआएपछि एमाले कैलालीले छानबिन समिति गठन गरेको छ । टेक बुढाको संयोजकत्वमा बनाइएको समितिले छुटेको कारणबारे छानबिन गरी रिपोर्ट बुझाएपछि थप निर्णय हुने जिल्ला इन्चार्ज नारदमुनि रानाले बताएका छन् ।

४० वर्षमुनिका कोटाबाट प्रतिनिधि बन्ने तयारीमा रहेका कुमार बडैला, दीपक रावल, प्रकाश खड्का लगायतका नेताहरूले आफूहरूले नियमित रूपमा सदस्यता नवीकरण गरिरहे पनि नियतवश नाम हटाइएको आरोप लगाएका छन् । रावलका अनुसार गत १७ वर्षदेखि निरन्तर सदस्य भएर काम गरिरहेकाहरूलाई गुटगत कारणले पछाडि धकेलिएको हो । खड्काले पनि परिवारका सबैको नवीकरण प्रक्रिया पूरा हुँदा पनि आफू मात्र सूचीबाट हटाइएको दाबी गरेका छन् ।

जिल्ला कमिटीलाई दिएर भनेको निवेदनपछि जिल्लाले छुटेका सबै नाम प्रदेश कमिटी हुँदै केन्द्रमा पठाइसकेको छ । प्रदेश कमिटीले पनि संशोधनका लागि केन्द्रलाई औपचारिक सिफारिस गरिसकेको जनाएको छ । मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने एमालेको ११ औँ महाधिवेशनका लागि मंसिर १३ गते देशभरका निर्वाचन क्षेत्र तथा विदेशस्थित संगठनहरूमा एकैदिन प्रतिनिधि छनोट हुनेछ। महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने  जनाएको छ। प्रतिनिधि छनोटका कडाइका निर्देशसँगै कैलालीमा देखिएको सदस्यता विवाद मिल्ने हो कि झन् गहिरो बन्दै जाने हो—अब केन्द्रको निर्णयबाटै स्पष्ट हुनेछ।

‘टीओबी’ बारे प्रहरीको दुई महिना लामो अनुसन्धान, के–के खुल्यो रहस्य ?

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा विवादमा परेका टीओबी (द ओरिजिनल ब्रदर्स-तिब्बतीयन ओरिजिनल ब्लड) समूहबारे प्रहरीले पछिल्ला निष्कर्ष सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार गरेको पत्रकार सम्मेलनमा समूहका गतिविधि, संरचना र आन्दोलनमा उनीहरूको संलग्नताबारे विस्तृत जानकारी दिएको हो ।

प्रहरीका अनुसार टीओबी समूहका ‘मुख्य व्यक्ति’ भनिएका तेन्जिन दावा लामा अहिले पनि हिरासतमा छन् र उनीबारे नागरिकता, राहदानीदेखि लागूऔषधसम्बन्धी मुद्दासम्मको बहुआयामिक अनुसन्धान अघि बढिरहेको छ । प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार तेन्जिन बाहेक समूहका सबै सदस्य नेपाली नागरिक भएको पुष्टि भएको छ ।

तेन्जिनले टीओबी समूहको लोगो आफैले तयार पारेको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार समूहको आधिकारिक नाम ‘द ओरिजिनल ब्रदर्स’ हो तर तेन्जिनले आफू तिब्बतियन मूल भएको भन्दै आफ्नो ज्याकेटमा ‘तिब्बतीयन ओरिजिनल ब्लड’ लेखेको बयान दिएका छन् । समूहमा ५७ सदस्य रहेको र उनीहरूले १३ वटा बुलेट र १ वटा पल्सर मोटरसाइकल प्रयोग गरेको पनि प्रहरीले जानकारी गराएको छ ।

भाद्र २३ गते बिजुलीबजार क्षेत्रमा समूहका केही सदस्यले बाइक रफ्तारमा कुदाउँदै नारा लगाउँदै भीडलाई उत्तेजित गर्ने काम गरेको प्रहरीले जनाएको छ । त्यही दिनको अघिल्लो साँझ उनीहरूले जेन–जी आन्दोलनमा सहभागी हुने विषयमा आन्तरिक छलफल गरेको प्रमाण पनि भेटिएको प्रहरीको दाबी छ ।

तेन्जिनमाथि पहिले सार्वजनिक भएको ‘पेस्तोल देखाएको’ भिडियो जेन–जी आन्दोलनकै नभई केही महिना अघि म्युजिक भिडियोका क्रममा खिचिएको भएको तथ्य पनि प्रहरीले खुलाएको छ । अभद्र व्यवहार मुद्दामा उनलाई ७ हजार ५०० रुपैयाँ धरौटी तोकिए पनि उनीमाथि हाल लिखत, नागरिकता र लागूऔषधसम्बन्धी मुद्दामा छुट्टै अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार समूहका सदस्यहरू र्‍यापर सुरेन्द्र गुरुङ (Haka Hakim) बाट प्रभावित छन् र त्यसैका कारण उनीहरूले टी–सर्टमा ‘हाकिम’ लेख्ने गरेको बयान दिएका छन् । लोगोमा रहेको ड्रागन, फूल र अन्य प्रतीकमा गहिरो अर्थ नरहेको र ‘युद्धका लागि तयार तर शान्तिप्रिय’ भाव झल्काउने सामान्य कलात्मक डिजाइन मात्र भएको प्रहरीले बताएको छ ।

प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुन्छः मन्त्री खरेल

दाेलखा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी फागुन २१ मै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने भन्दै चुनावको माहोल बनाउन यहाँका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।

जिल्ला समन्वय समितिको सभा हलमा साेमबार भएको कार्यक्रममा उनी सरकारले चुनावका लागि वातावरण बनाइरहेकाले चुनाव हुँदैन कि भनेर फैलाइने भ्रमलाई चिर्ने गरी काम गर्न निर्देशन दिए ।

मन्त्री खरेलले भने, “चुनावका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी भइरहेको छ । आवश्यक स्रोतसाधनदेखि जनशक्ति जुटाउने काम भइरहेका छन् । त्यसैले भ्रम र कसैको दबाब एवं प्रभावमा नपरी मतदान केन्द्रमा गइ मत दिन वातावरण बनाउन लाग्नुस् । यसमा सबैको सहयोग आवश्यक छ ।”

उनले फागुन २१ गते चुनाव होला र ! भनेर कुनै संका नगर्न कर्मचारी, राजनीतिक दल, सुरक्षा निकाय र निर्वाचन कार्यालयहरूलाई आग्रह गरे । मन्त्री खरेलले जनताले कुनै गुनासो नगर्ने गरी नियमित सेवा प्रवाहमा समेत ध्यान दिन सबै कार्यालय प्रमुखलाई आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मतदान हुने स्थलको अनुगमन गरी अवस्था बुझ्ने काम निरन्तर भइरहेको बताए । उनले जिल्लामा हाल एक लाख ६३ हजार १३३ जना मतदाता रहेका र विगतमा ९४ वटा मतदान केन्द्र रहेका जानकारी गराए ।

सुदूरपश्चिम र कर्णालीको खेलमा उत्साहित दर्शक (तस्बिरहरू)

काठमाडौं ।  सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको खेलमा सधैं झै सोमबार पनि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भरिभराउ रह्यो।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार भएका दुवै खेल औसत स्कोरका भए। पहिलो खेलमा विराटनगर किंग्सले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्टस् १२६ रनमै समेटियो।

त्यस्तै, दोस्रो खेलमा पनि सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली ९४ रनमै समेटियो।

दुवै कम स्कोरका खेलमा दर्शकको उत्साह भने अन्तिमसम्म कायमै रह्यो। दिउँसोको खेलमा प्यारापिटका सिट खाली देखिए पनि साँझको खेलमा भने खचाखच भरिएका थिए।

दीपेन्द्र चम्किँदा सुदूरपश्चिम रोयल्सको ‘ह्याट्रिक’ जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले ‘ह्याट्रिक’ जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो जित दर्ता गरेको हो ।

कप्तान दीपेन्द्रसिंह ऐरीको बल र ब्याट चलेपछि कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिमले शानदार जित निकालेको हो । एनपीएलमा सोमबार सुदूरपश्चिमले लगातार तेस्रो खेल जितेको हो । यसअघि सुदूरपश्चिमले पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो । यो जितसँगै सुदूरपश्चिमको ६ अंक भएको छ ।

सुदूरपश्चिमले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली चार बल आगावै ९४ रनमा अलआउट भयो । जारी एनपीएलमा सबैभन्दा कम स्कोर बनाउने कर्णाली पहिलो टोली हो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए । मार्क वटाले १७, सोमपाल कामीले १४ र गुल्सन झाले १३ रन थपे ।

खेलको सुरुवातदेखि नै हाबी बनेका सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । उनले आफ्नो स्पेलमा २३ रन खर्चे । अविनाश बोहोरा र हरमति सिहंले दुई–दुई विकेट झारे । स्कट कुग्लेजिन र हेमन्त धामीले एक–एक विकेट लिए ।

यअसघि ब्याटिङ गरेको सुदूरपश्चिमले नौ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले बनाएको ३९ रन नै सर्वाधिक रह्यो। उनी २८ बलमा एक चौका र दुई छक्का प्रहार गर्दा मार्क वाटको बलमा नजिबुल्लाह जड्रानको हातबाट क्याच आउट भए ।

त्यस्तै, २५ बलमा तीन चौका सहयोगमा २७ रन बनाएका आरिफ शेख नन्दन यादवको बलमा बोल्ड आउट भए । हरमित सिंहले १९ र क्रिस लिनले १८ रन थपे । स्कट कुग्लेजिन १० रनमा बोल्ड आउट भए । विनोद भण्डारी ११ रन बनाउँदा एलबीडब्लुको धरापमा परे ।

कर्णालीका लागि सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै, नन्दन यादवले दुई, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए । मंगलबार काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच अपराह्न ४ बजे प्रतिस्पर्धा हुनेछ ।

१२ बुँदे माग बोकेर सिंदरबारमा सीके राउतको जनमत पार्टी

काठमाडौँ । डा. चन्द्रकान्त ‘सीके’ राउत नेतृत्वको जनमत पार्टीले सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई १२ बुँदे मागपत्र बुझाउँदै विगतमा भएका राजनीतिक सम्झौता कार्यान्वयनदेखि सुरक्षा निकायमा समावेशिता, प्रदेशको स्वायत्तता र सीमांकन संशोधनजस्ता मुद्दामा तत्काल कदम चाल्न आग्रह गरेको छ ।

जनमत पार्टीले मधेश, थरूहट र स्वराज आन्दोलनका क्रममा सरकारसँग भएका २२ बुँदे, ८ बुँदे र ११ बुँदे सम्झौताका बाँकी प्रावधान तत्काल लागू गर्नुपर्नेमा जोड दिएको छ । साथै आन्दोलनका क्रममा मुद्दा लागेर जेल तथा हिरासतमा रहेका व्यक्तिहरूलाई रिहा गरी मुद्दा फिर्ता तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारले पहल गर्नुपर्ने माग दलले उठाएको छ ।

नेपाली सेनासहित सबै सुरक्षा निकायमा मधेशी समुदायको प्रतिनिधित्व न्यून भएको पार्टीको आरोप छ । पार्टीले मधेशी युवाहरूका लागि समूहगत भर्ती प्रक्रिया तत्काल सुरु गर्न सरकारलाई आग्रह गरेको छ, जसले संघीय समावेशी संरचना सुदृढ हुने जनमत पार्टीको भनाइ छ ।

२०६४ फागुन १६ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको ८ बुँदे सम्झौतामै उल्लेख भएअनुसार प्रदेशहरूलाई राजनीतिक, प्रशासनिक तथा आर्थिक अधिकारसहित पूर्ण स्वायत्त संरचनामा रूपान्तरण गर्नुपर्ने पार्टीको माग छ । स्थानीय तहहरू पनि प्रदेश सरकार मातहत राख्नुपर्ने उनीहरूको अडान छ ।

संघीय शासनपद्धतिको भावना र संविधानको अनुसूचीअनुसार प्रहरी संगठन पूर्ण रूपमा प्रदेश सरकारको मातहतमा राख्नुपर्ने जनमत पार्टीको आग्रह छ । यसले संघीयता व्यवहारमा उतारिने र प्रदेश सरकारहरू सुदृढ हुने धारणा पार्टीले व्यक्त गरेको छ ।

तराई–मधेशको जनसंख्या ५४ प्रतिशत नाघिसकेको दाबी गर्दै पार्टीले प्रतिनिधि सभाको निर्वाचन क्षेत्र पूर्ण रूपमै जनसंख्याको आधारमा निर्धारण हुनुपर्ने धारणा राखेको छ । साथै लुम्बिनी, सुदूरपश्चिम र प्रदेश–१ का सीमांकन स्थानीय जनभावनाअनुसार पुनःसमीक्षा गर्न माग गरिएको छ ।

प्रधानमन्त्रीलाई बुझाइएको १२ बुँदे ज्ञापनपत्रमा जनमत पार्टीले मधेशी जनताका मुद्दा समाधानमा सरकार गम्भीर नबने आन्दोलन फेरि उठ्न सक्ने चेतावनी पनि दिएको बताइएको छ ।

हेर्नुस् जनमतका मागहरु

जेनजीको माग सम्बोधन गर्न नसक्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : विकेश साह

काठमाडौं । जेनजी विद्रोहको जगमा अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी सुशीला कार्कीले उही जेनजी आन्दोलनकारीलाई भेटन अस्वीकार गरेकी छन् । प्रधानमन्त्री कार्यालयमा आफ्ना मागहरु सहितको पत्र बुझाउन सोमबार जेनजी आन्दोलनकारीहरु सिंहदरबार पुगेका थिए । तर प्रधानमन्त्री कार्कीले भेटनै मानिन । प्रधानमन्त्रीले भेटन नमानेपछि उनीहरुले आफ्नो माग पत्र दक्षिण गेटमा टाँसेर फर्किएका छन् ।

जेनजी विद्रोहका अगुवाहरु विकेश साह, मिराज ढुंगाना, रविकिरण हमाल, सौरभ भण्डारी, मणी लिम्बु, सुनिलप्रसाद साह, राजा सल्यानी, सुस्मा श्रेष्ठ, प्रभात अधिकारी, रंजित ठाकुर, मदन लिम्बु, सुनिल सिंह लगायतका युवाहरु सिंहदरबार पुगेका थिए ।

‘यो व्यवस्था र संविधानले निकास दिन सक्दैन । त्यसैले हामीले अहिलेको संविधान र सरकार खारेज गरी अन्तरिम संविधान र अन्तरिम सरकार गठन गर्नुपर्छ भन्ने स्पष्ट माग हो । यो सरकार विकास र निकास दुबैमा असफल भइसकेको छ । अब निकास दिन आवश्यक छ । त्यसका लागि यो व्यवस्था खारेज गरेर अगाडि बढनुको विकल्प छैन्,’ कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले भने ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल कानूनी कठघरामा उभ्याउनुपर्ने माग समेत उनले गरेका छन् । ‘बंगलादेशमा जसरी हत्यारालाई मृत्युदण्ड नै दिईएको छ, कारबाही गरिएको छ, त्यसरी नै हामीले केपी ओलीलाई कानूनी कठघरामा ल्याउनुपर्छ । कानूनबमोजिम कारबाही गर्नुपर्छ । यदि कारबाही गर्न सकिएन भने हामी उद्देश्यविहीन हुन्छौं,’ साहले भने ।

यस्तै जेनजी हत्यारा र भ्रष्टाचारीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्नेमा वर्तमान सरकार असफल रहेको हामीहरुको बुझाइ रहेको उनले बताए । भ्रष्टाचारीहरु, जेनजी हत्याराहरु अहिले खुलेयाम घुमिरहदा समेत सुशीला सरकारले किन अहिलेसम्म पक्राउ गर्न सकेन भन्ने प्रश्न अध्यक्ष साहले गरेका छन् ।

२०८४ सालमा हुने निर्वाचन २०८२ सालमा गराउनका लागि जेनजी बिद्रोह नभएको बताउदै अध्यक्ष साहले सबैभन्दा पहिला जेनजी हत्यारा र भ्रष्टाचारीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने उनले बताए ।

जेन–जीका विभिन्न २१ समूहले कार्की सरकारले आफूहरूको माग पूरा गर्न नसक्ने र घाइते तथा शहीदको सपना साकार पार्न सम्भव नभएको निष्कर्ष निकालेको उनले बताए । उनीहरूले माग पूरा गर्न ७ दिनको अल्टिमेटम दिँदै बेवास्ता गरे कार्की सरकार गठनमा आफूले गरेका गल्तीको माफी माग्दै पुनः संघर्षमा जाने चेतावनी दिएका छन् । विद्रोहमा होमिएका युवाविरुद्ध वर्तमान सरकारले नै षडयन्त्र गरिरहेको भन्दै उनीहरुले विभिन्न माग गरेका छन् ।

यस्ता छन् उनीहरूका माग

१. हाल सम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर ।

२. स्थिर सरकारका लागी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर ।

३. विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर ।

४. जेन – जी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर ।

५. सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर ।

६. २३ गते शान्तिपूर्ण आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर ।

२४ गतेको घटनालाई निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर ।

७. जेन–जी आन्दोलन लगायतका राजनीतिक प्रतिशोधका आधारमा चलाएका मुद्दाहरू फिर्ता गर र विधिको शासन कायम गर ।

८. प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा धेरै पछाडि पुरÞ्याएको छ, त्यसैले प्रदेश सरकारका अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकारको पुनर्संरचना गर ।

९. यी कुराहरु संबिधान पुनरावलोकन र सुधार नगरी नहुने भएकाले तत्काल जनभावना बुझी संबिधान सुधार गरी मात्र अर्थपूर्ण चुनावतर्फ लाग।

रास्वपाका काठमाडौं सभापति बिष्टले फिर्ता लिए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं सभापति प्रदीप विष्टले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। पार्टीका शीर्ष नेताहरूसहितको बैठकबाट आज सहमति बनेपछि विष्टले राजीनामा फिर्ता लिएका हुन्।

आफूले उठाएका मुद्दाहरूलाई पार्टीले सम्बोधन गर्ने र समस्या रहेका विषय समाधान गर्ने सहमति बनेसँगै राजीनामा फिर्ता लिएको विष्टले जानकारी दिए । पार्टीमा पारदर्शी, बेथिति र निर्णयहीनताका विषयमा बारम्बार प्रदेश समिति, प्रदेश ईन्चार्ज तथा केन्द्रीय नेतृत्वलाई समेत जानकारी गराएको तर सम्बोधन नभएको भन्दै विष्टले पदबाट राजीनामा दिएका थिए।

मंसिर ५ गते महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पत्र लेखेर विष्टले पदबाट राजीनामा दिएका थिए। जिल्लाको नेतृत्वमा बसेर निर्वाचन क्षेत्र, पालिका र वडाको कार्यकर्ता र मतदातालाई निरन्तर आश्वासन, भरोसा र मार्गदर्शन दिएको व्यक्ति भएर उनीहरूलाई ‘गुमराह’ मा राखिरहनु आफ्नो नैतिकताले नदिने भन्दै उनले राजीनामा दिएका थिए।

६ पटक लिखित पत्राचार, ३ पटक औपचारिक बैठक एवं अनौपचारिक संवादमार्फत तथ्य प्रस्तुत गर्दै सुधारका लागि ठोस, समयानुकूल र नीतिगत निर्देशन मागेको तर उपल्लो निकायले तदरुकता नदेखाएको उनको भनाइ थियो।

पार्टी शीर्ष नेताहरूले आफ्ना मागहरू सम्बोधन गर्ने र आन्तरिक समस्याका विषयहरू समाधान गर्न तत्परता दिने प्रतिबद्धता गरेपछि राजीनामा फिर्ता लिएको विष्टले बताए। उनले दिएको राजीनामा पार्टीले स्वीकृत गरेको थिएन। विष्ट गत निर्वाचनमा प्रतिनिधि सभाका लागि काठमाडौं–१० बाट रास्वपाको उम्मेदवार बनेका थिए।

कांग्रेसका विशेष महाधिवेशन पक्षधरलाई राष्ट्रपतिले भने–धेरै बोल्न मिल्दैन, मिलेर अघि बढ्नुस्

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । लुम्बिनी प्रदेश अध्यक्ष अम्मर पुन, नेता गुरुराज घिमिरेसहित दुई दर्जन नेताहरूले पौडेललाई शीतलनिवासमा पुगेर भेट गरेका हुन् ।

भेटमा जेन–जी आन्दोलनपछिको परिस्थिति, फागुन २१ को चुनाव, कांग्रेसभित्रको विवाद लगायतको विषयमा छलफल भएको नेता घिमिरेले जानकारी दिएका छन् । उनले भने, ‘हामीले समग्र परिस्थितिको बारेमा कुरा राख्यौँ । त्यसपछि उहाँले आफ्नो कुरा राख्नु भयो । आफू सरकार, निर्वाचन आयोग र दलहरूसँग छलफलमा रहेकाले अहिलेको निकास निर्वाचन मात्रै रहेको बताउनु भयो ।’

कांग्रेसको निर्वाचनमा भाग लिने निर्णयले चुनावको वातावरण बन्नमा सघाउन पुग्ने विश्वास व्यक्त गरेको पौडेलले बताएका सुनाए । अहिले संविधान ट्र्याकमा फर्काउनको लागि निर्वाचनको विकल्प नभएको कुरा राष्ट्रपतिले राखेको घिमिरेले बताए । उनले पार्टीभित्रको आन्तरिक विवादमा आफूले धेरै बोल्न नमिल्ने भन्दै मिलेर जान सुझाव दिएको बताए ।

उनले भने, ‘हामी विशेष महाधिवेशन पक्षधरका नेताहरू मात्रै थियौँ । उहाँले पार्टीभित्रको आन्तरिक विषयमा मैले बोल्न मिल्दैन । तपाईंहरू मिलेर अघि बढ्नुस्, विग्रहले कुनै फाइदा गर्दैन भन्नु भयो ।’ पार्टीभित्र मात्रै नभएर पुराना र नयाँ दलहरूसँग पनि मिलेर चुनावको वातावरण बनाउन सुझाएको बताए ।

प्रहरीका तीन डीआईजीको सरुवा, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार तीन जना डीआईजी सरुवाको निर्णय गरेको जानकारी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी विनोद घिमिरेले पाएका छन् । यसअघिका प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की एआईजीमा बढुवा भएसँगै कोशी प्रदेशमा प्रहरी प्रमुख रिक्त भएको थियो । कार्कीलाई भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने निर्णय भएको छ ।

कोशी प्रदेशको जिम्मेवारी पाएका घिमिरे प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा केही हप्ता अघि मात्रै सरुवा भएका थिए । त्यसअघि उनी प्रहरीको केन्द्रीय प्रवक्ता थिए । प्रदेश समन्वय विभागमा दिलिप सिंह देउवा र महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा दीपककुमार बस्नेतलाई सरुवा गरिएको छ ।

जेनजी घाइतेको उपचारका लागि १० स्वास्थ्य स्वयंसेवक परिचालन

काठमाडौं । सरकारले भदौ २३ र २४ को जेनजी आन्दोलनमा घाइते भएका नागरिकको उपचारका लागि हेल्प डेस्क स्थापना गर्ने तथा त्यसमार्फत सेवा प्रवाह गर्न १० जना स्वास्थ्य स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए । स्वयंसेवकलाई मासिक १५ हजार रुपैयाँ भत्ता उपलब्ध गराइने उनले जानकारी दिए । उनकाअनुसार बैठकले भूमिसम्बन्धी नवौं संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

सरकारले युरोपियन युनियनको ‘ग्रीन एण्ड रिलायबल इनर्जी फर इकनोमिक प्रस्पेरिटी’ परियोजनाका लागि २३.५८ मिलियन युरो अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । उनकाअनुसार बैठकले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गर्दै उक्त क्षेत्रमा मासिक भाडादर प्रतिमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय गरिएको छ ।

उनले ऊर्जा क्षेत्रकै अन्तर्राष्ट्रिय समन्वयलाई ध्यानमा राख्दै सरकारले विद्युत नियमन आयोगलाई साउथ एशिया इनफ्रास्ट्रक्चर रेगुलेसनको सदस्यता दिन स्वीकृति प्रदान गरेको पनि बताए । उनले नेपाल प्रहरीको हालको दरबन्दीभित्रै पद–मिलान तथा कार्यालय संरचना समायोजनका साथै संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी कार्य प्रारम्भ गर्ने निर्णय भएको पनि बताए ।

मन्त्री पुनका अनुसार नेपाल प्रहरीको जनपद समूहतर्फको नायव महानिरीक्षकबाट ईश्वर कार्कीलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय पनि भएको छ । भूमिसम्बन्धी नवौं संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि भएको छ । कार्यवाहक मुख्यसचिवको जिम्मेवारी सचिव सुमन अर्याललाई दिने निर्णय भएको पनि बताए ।

कार्की एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका रिक्त डीआईजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । आज (सोमबार) को मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार उनलाई बढुवा गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेशका प्रहरी प्रमुख समेत रहेका कार्की पहिलो डिआईजी थिए । काठमाडौँ उपत्यका प्रमुख समेत रहेका दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेसँगै एआईजी पद रिक्त भएको थियो । नेपाल प्रहरीमा ८ जना एआईजीको दरबन्दी रहेकोमा हाल ७ जना कार्यरत छन् । एआईजीको दरबन्दी प्रहरी प्रधान कार्यालयमा ५ जना र ३ जनाको बाहिर छ ।

मुख्यालयमा मानवस्रोत विकास विभाग, प्रशासन विभाग, अपराध अनुसन्धान विभाग, कार्य विभाग, प्रदेश समन्वय विभाग छन् । यस्तै प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान र सीआईबीमा पनि एआईजी नै कार्यरत छन् । एआईजीकै दरबन्दी रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय भने प्रमुखबिहीन छ ।

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रनको योगफल बनायो ।

कर्णालीका कप्तान सोम्पाल कामीले पहिलो ओभरको पहिलो बलमै सुदूरपश्चिमका आपनर जोश ब्राउनलाई डक आउट गराए ।

पहिलो ओभरदेखि नै बलिङमा प्रभाव छोडेको कर्णालीले इनिङ भरी लयमा बलिङ ग¥यो । सोमपालले जोश र हर्मित सिंह जस्ता महत्त्वपूर्ण ब्याटरलाई आउट गराउँदै तीन विकेट लिए ।

उनले एक ओभर मेडन फ्याके । चार ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिए ।

नेपाली कम्युनिस्ट पार्टी र जसपाबीच मंसिर ११ गते एकता हुने

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपा एकीकरण पक्षधरबीच पनि एकताको औपचारिक घोषणा हुने भएको छ ।

नेपाली कम्युनिष्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहबीच एकताको घोषणासभा यसअघि तय भएकोमा पूर्वनिर्धारित कार्यक्रम एक दिन पर सारिएको छ।

नेपाली कम्युनिष्ट पार्टी र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपा एकीकरण पक्षधरबीचको एकता घोषणा समारोह मंसिर १० गते हुने भनिएकोमा अब एक दिनपछि अर्थात् मंसिर ११ गते बिहीबारका दिनका लागि सारिएको हो ।

देशभरका विभिन्न भागमा रहेका नेता एवं अगुवा कार्यकर्ताहरूलाई आफूहरू पनि घोषणासभामा सहभागी हुन आग्रह गरेपछि कार्यक्रम एक दिनका लागि सारिएको जसपा नेता दुर्गा सुवेदीले जानकारी गराए ।

सुवेदीका अनुसार घोषणासभा राष्ट्रियसभा गृहमा दिनको १ बजे सुरु हुनेछ । एकता सभाकाे तयारीका लागि मङ्सिर १० गते सोह्रखुट्टेस्थित नेपाः राष्ट्रिय बैंकेटमा भेला आयोजना गरिएको छ।

एकता समारोहमा नेपाली कम्युनिष्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएकाे छ । आइतबार अशोक राई नेतृत्वको जसपाबाट श्रेष्ठलगायत ६ नेताहरू नेपाली कम्युनिष्ट पार्टीतिर लागेका थिए ।

 

आफूहरु अझै पीडामा रहेको पूर्वलडाकुको गुनासो

काठमाडौं । माओवादीका पूर्व लडाकुहरुले आफूहरुको योगदानकै कारण मुलुकमा राजनीतिक व्यवस्था भइ गणतन्त्र स्थापना भए पनि आफूहरु अझै पीडामा रहेको भनी दुखेसो पोखेका छन् ।

जनमुक्ति सेना स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वजनमुक्ति सेना डिभिजनका अध्यक्ष नवीन पुनले मुलुक परिवर्तनका लागि आफूहरुले दिएको योगदान इतिहासले सधै सम्झने बताए । “हामीले लडेको क्रान्ति असफल भएको होइन”, पुनले भने ।

माओवादी नेतृत्वको आह्वानमा भएको जनयुद्धको दौरान विंस २०५८ साल मङ्सिर ८ गते औपचारिक रुपमा जनमुक्ति सेना स्थापना भएको थियो । पत्रकार सम्मेलनमा सहिद, अङ्गभङ्ग भएका, बेपत्ता लगायतलाई स्मरण गरियो ।

‘नसर्ने रोगले आँखाको समस्या बढाउँदै’

काठमाडौं । एक अध्ययनले नसर्ने रोगबाट पीडित हुनेमा आँखामा हुने समस्याको जोखिम हुने देखाएको छ ।

तिलगङ्गा आँखा प्रतिष्ठानले करिब पाँच हजारलाई समेटेर गरेको काठमाडौं केन्द्रित आँखा अध्ययनले नसर्ने रोग भएकामा आँखाको समस्या बढी पाइएको देखाएको हो । अध्ययन आज एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

अध्ययनले हाइपरटेन्सन र मधुमेह भएकामा आँखाको समस्या रहेकामा उच्च रक्तचाप भएका सहभागीहरूमध्ये एक प्रतिशतमा ‘हाइपरटेन्सिभ रेटिनोप्याथी’ थियो भने मधुमेह भएकाहरूमध्ये ७.३ प्रतिशतमा ‘डायबेटिक रेटिनोप्याथी’ पाइएको छ । रेटिनोप्याथी भन्नाले आँखाको रेटिनामा देखिने समस्या हो जसले अन्धोपना पनि निम्त्याउन सक्छ ।

अध्ययनले सन् २०२२ देखि २०२४ सम्म काठमाडौं जिल्लामा ४० वर्षभन्दा माथिका व्यक्तिहरूमा देखिने आँखाका रोगहरू, जोखिम कारकहरू, सेवासुविधामा रहेको पहुँच, जनचेतना तथा आँखादानप्रति जनमानसको धारणा जस्ता विषयहरूमा महत्वपूर्ण तथ्यहरू सार्वजनिक गरेको हो ।

‘एन एपेडिमियोलोजिकल स्टडी अफ ओकुलर डिजिज इन काठमाडौं डिस्ट्रिक्ट अफ नेपालः काठमाडौं आइ स्टडी’ नामक अध्ययनमा चार हजार ९९० जना सहभागी थिए ।

सहभागीहरूमध्ये ९७.७ प्रतिशत कुनै न कुनै प्रकारको आँखा रोगबाट पीडित रहेको पाइएको थियो । अध्ययनले मोतियाविन्दु र दृष्टि दोष दृष्टिविहीनता र अन्धोपनका प्रमुख कारणहरू रहेको देखाएको छ जसमा ४१.७ प्रतिशत अन्धोपन मोतियाविन्दुका कारण थियो र लगभग ८० प्रतिशत दृष्टिविहीनता दृष्टिदोषका कारण थियो ।

अध्ययनले आँखा दानबारे जानकारी भए तापनि दानमा रुचि कम भएको देखाएको छ । २५२ उत्तरदातामध्ये ५६ प्रतिशत आँखा दानबारे सचेत देखिएका छन्भने ४५ (१७.९ प्रतिशत) उत्तरदाताहरूले मात्र आँखा दानमा रुचि देखाएका छन् ।

सहभागीहरूको चार हजार ४६७ अर्थात् ९१ प्रतिशतले आँखा स्वास्थ्य परामर्श लिएका थिए जसमध्ये अधिकांश तीन हजार २१४ (७१.१९ प्रतिशत) आँखा अस्पताल गएका थिए । परामर्श नलिनेहरूमध्ये धेरैले आवश्यकता महसुस नहुनु, समयको अभाव, वैकल्पिक औषधिमा निर्भरता, साथीको अनुपस्थिति र सहभागीहरूको आर्थिक बाध्यताहरू रहेको बताएका थिए ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले यो अध्ययनले आँखा स्वास्थ्यमा अझै पनि सचेतना पुग्न नसकेको बताए ।

उनले यो अध्ययन आँखा स्वास्थ्य सेवाका लागि नीति तथा कार्यान्वयनका लागि प्रभावकारी भूमिका खेल्ने बताए ।उनले भने, ‘काठमाडौं केन्द्रित महत्वपूर्ण आँखा अध्ययन सार्वजनिक भएको छ । अध्ययनले प्रारम्भिक जाँचले कतिपय आँखाको समस्याहरु हल भएर जाने हुनाले जनचेतनाको आवश्यकता रहेको देखाएको छ ।’

तिलगङ्गाकी प्रमुख कार्यकारी अधिकृत तथा अध्ययनकी प्रमुख अनसुन्धानकर्ता डा रीता गुरुङले काठमाडौंमा आँखा स्वास्थ्यलाई सुदृढ गर्न व्यापक स्वास्थ्य प्रणालीभित्र आँखा हेरचाहलाई एकीकृत गर्न आवश्यक रहेको बताए ।

उनले नसर्ने रोगको जोखिमजस्तै मोटोपना, उच्च रक्तचाप, मधुमेहलाई सम्बोधन गर्न ध्यान दिनुपर्ने धारणा राख्दै  प्रमुख आँखा रोगहरूबारे जागरूकता बढाउन, प्रारम्भिक हेरचाह खोज्न प्रोत्साहन गर्न, र आँखा दानप्रतिको बुझाइ र इच्छा सुधार गर्न सामुदायिक संलग्नता बढाउनुपर्ने बताए ।

एनपीएलमा सट्टेबाजी : २ करोडभन्दा बढीको कारोबार, १० जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा २ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

दुई पटकमा ९ भारतीय र एक नेपाली महिलासहित प्रहरीले १० जनालाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ । उनीहरूको कारोबार विवरण हेर्दा २ करोड ५ लाख देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

दुई जनालाई खेलाडीसँग म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परे । बाँकी ८ जना बेटिङ गराएको आरोपमा पक्राउ परेका थिए ।

स्टेक डटकम, बेडबुक डटकमलगायतका वेबसाइटहरू तथा यससँग सम्बन्धित अन्य एप्लिकेसनहरू अनलाइन बेटिङका लागि प्रयोग गरिएको भट्टराईको भनाइ छ ।

नेपाल प्रहरीले अनलाइन जुवा र डिजिटल माध्यमबाट हुने आर्थिक अपराधहरूलाई नियन्त्रणमा ल्याउन थप अनुसन्धान र कारबाही जारी राख्ने जनाएको छ ।

मिराज नेतृत्वको जेनजीले भेट्न पाएनन् प्रधानमन्त्री, गेटमा पत्र टाँसेर फर्किए

काठमाडौं । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूह प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा सिंहदरबार प्रवेश गर्न नपाएपछि दक्षिण गेटमै माग पत्र टाँसेर फर्किएका छन् । मिराज ढुंगानाको गरिखान देऊ समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी थियो । ढुंगानाको समूहले सुशासन दिने भन्दै गएकाले नै त्यसविरुद्ध गतिविधि गर्न थालेको, आदर्श श्रेष्ठ वा कोही व्यक्तिलक्षित भन्दा पनि समग्रमा सुशासनको प्रत्याभूति दिलाउ भन्न जान लागेका जनाएका थिए ।

हाल सरकारमा रहेकाहरुले जेनजी आन्दोलनको मर्मविपरीतका गतिविधि गरेकोले त्यसविरुद्ध ज्ञापनपत्र बुझाउन जान लागिएको ढुंगानाले यसअघि बताएका थिए । यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिइएको भन्दै तीन जेनजी समूहले विज्ञप्ति जारी गरेका थिए । तर ,प्रधानमन्त्री सचिवालयले कर्मचारी नियुक्तिको विषयमा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई अनावश्यक रूपमा जोडेको प्रष्टीकरण दिएको छ ।

सिंहदरबारमा जेनजी समूहबीच नै भनाभन
यता सिंहदरबारमा जेनजी–जेनजी समूहबीच नै भनाभन भएको छ । प्रधानमन्त्रीलाई भेट्न सोमबार (मंसिर ८) सिंहदरबार पुगेका जेनजी समूहबीच आपसमै भनाभन भएको हो । ’कर्णाली जेनजी’ संयोजक सुप्रिया राज्यलक्ष्मी शाही र ‘द काउन्सिल अफ जेनजी’ (सुधन गुरुङ) समूहबीच भनाभना भएको हो ।

शाहीले सरकारलाई हातमा लिन खोज्ने सुधन, रक्षा बम र ओजस्वीराज थापा को हुन् ? भन्दै प्रश्न गरेकी छन् । शाही समूहले सुधन, रक्षालगायतका ‘जेनजी’ घाइते, मृतकका परिवारलाई छोडेर सरकारमा लिप्त भएको बताएकी छन् । उक्त समूहले आफूहरूलाई विभिन्न समूहले आक्रमण गर्न खोजेको भन्दै प्रधानमन्त्रीलाई भेट्न समय माग गरेको छ ।

 

 

वर्षालाई आखिर किन भयो बाँच्न गाह्रो ?

काठमाडौं । अभिनेत्री वर्षा राउत पछिल्लो समय आफ्नै वैवाहिक जीवनसँग जोडिएको विवाद, सार्वजनिक टिप्पणी र सामाजिक दबाबका कारण अत्यधिक भावनात्मक तनावमा रहेको बताउँदै खुलेर मनका कुरा शेयर गरेकी छन् । श्रीमान सञ्जोग कोइरालासँगको सम्बन्धबारे फैलिएका चर्चापछि आएका विभिन्न आरोप–आक्षेपले आफूलाई मनोवैज्ञानिक रूपमा निकै थिचेको उनले सामाजिक सञ्जालमार्फत् प्रस्ट्याइन् ।

सञ्जोगसँग सम्बन्ध बिग्रिएको चर्चा बढिरहेका बेला वर्षा माइतीतिर बसेको खबर, चलचित्र प्रिमियरमा देखिएका दाग जस्ता चिन्ह तथा डिभोर्सको हल्लाले सामाजिक सञ्जालमा थप गसिपको लहर चलायो । यद्यपि दुवैले संयुक्त अन्तर्वार्ता दिएर दाम्पत्यमा गम्भीर समस्या नभएको दाबी गरिसके पनि, वर्षामाथि टिप्पणी र प्रश्नको वर्षा रोकिएन । यिनै निरन्तरका टिप्पणीबीच एक सामाजिक सञ्जाल प्रयोगकर्ताले अन्तर्वार्तामा सञ्जोगलाई ‘तँ’ किन भनियो भनेर खिज्याएपछि वर्षा निकै भावुक हुँदै समाजको दोहोरो मापदण्डले आफूलाई मानसिक रूपमा आहत बनाइरहेको बताइन् ।

उनले लेखेकी छन्, ‘कहिलेकाहीँ मान्छेले आत्महत्याका विचार ल्याउनुपर्ने अवस्था आउँछ, किनकि त्यो चाहेर होइन—समाजको अपेक्षा, दबाब र अन्यायले मान्छेलाई अन्धकारतिर धकेलिदिन्छ ।’ वर्षाको बुझाइमा, पतिले श्रीमतीलाई ‘तँ’ भन्दा समाजले सामान्य ठान्ने तर महिलाले त्यही शब्द प्रयोग गर्दा उग्र प्रतिक्रिया देखाउने प्रवृत्तिले महिलालाई अझै पनि असमान व्यवहार भोग्न बाध्य बनाएको छ ।

उनले थपेकी छन्, ‘श्रीमतीलाई ‘लाटी’, ‘अलच्छिनी’ जस्ता अपमानजनक शब्द बोलिँदा समाज मौन बस्छ। तर महिलाले आफ्नो आवाज उठाउन खोज्यो भने उसैलाई दोषी बनाइन्छ ।’ वर्षाले आफूलाई थिचिरहेको सामाजिक दवाब, अन्याय र असंवेदनशील प्रतिक्रियाले धेरै पटक एक्लो महसुस भएको र यसले मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको बताइन् ।

‘यो समाजमा बाँच्न मलाई साँच्चिकै धेरै गाह्रो भइसकेको छ’, वर्षाले लेखेकी छिन् । उनको भावनात्मक पोस्टपछि श्रीमान सञ्जोग कोइरालाले समेत प्रतिक्रिया दिँदै उनलाई साथ दिने आश्वासन व्यक्त गरे । उनले लेखे, ‘घृणामाथि प्रेम सधैं जित्छ । चिन्ता नगर, तिमीलाई हजारौँले माया गर्छन् । आज टिप्पणी गर्नेले भोलि बाटोमा भेट्दा ‘बिग फ्यान’ भन्छन् ।’ वर्षा र सञ्जोगले सम्बन्धमा समस्या नरहेको दाबी गरे पनि वर्षाले सार्वजनिक रूपमा व्यक्त गरेको पीडा र समाजप्रतिको असन्तुष्टिले नेपालमा महिलामाथि भइरहेको सामाजिक धारणाबारे गम्भीर प्रश्न उठाएको छ ।

 

 

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडामा भ्रष्टाचार : सात जनाविरूद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाको तत्कालीन निमित्त निर्देशकसहित सात जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । मकवानपुर, हेटौंडाको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका तत्कालीन निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटासहित ७ जनाविरूद्ध अख्तियारले सोमबार मुद्दा दर्ता गरेको हो ।

अख्तियारले निर्देशक डा. अर्जुनप्रसाद सापकोटासहित तत्कालीन लेखा अधिकृत राधा कृष्ण श्रेष्ठ, फार्मेसी सुपरभाइजर राजेश्वर रंजितकार, रेफ्रिजेरेटर टेक्निसियन रवीकुमार महतो र बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, लेखा अधिकृत नेत्रनर सिंह कार्की र आपूर्तिकर्ता जनमुक्ति हेल्थ ईन्टरप्राइजेज तथा उक्त कम्पनीका प्रोपाइटर नवराज श्रेष्ठविरूद्ध मुद्दा दर्ता भएको छ ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको बोलपत्र स्वीकृत नगरी बढी मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत गर्ने आशयले सुचना प्रकाशित गरेको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार उनीहरू ३१ लाख १७ हजार ८९ रूपैयाँ बराबरको रकम भ्रष्टाचार गरेको देखिएको छ । त्यसैले उनीहरूविरूद्ध सोही अनुसारको बिगो माग दाबी गरिएको छ ।

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली  ।  पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर सोमबार खतरनाक स्थरमा पुग्नुका साथै धुवाँको बाक्लो तहले भारतीय राजधानी सहरका धेरै क्षेत्रहरू ओगटेको जनाइएको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार विशेष गरी दिल्लीको पूर्वी भागहरू र छेउछाउका क्षेत्रहरूमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) लगभग– ४५० देखिएको छ जुन वायु प्रदूषण मापदण्डको सन्दर्भमा “गम्भीर“ अवस्था मानिएको छ ।

पछिल्ला केही दिनदेखि दिल्ली र यसका छेउछाउका क्षेत्रहरूमा हावाको गुणस्तर खराब हुदाँ मानिसहरूलाई सास फेर्न गाह्रो भइरहेको तथा धेरै सरकारी अस्पतालहरूमा श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित बिरामीहरूको सङ्ख्या बढेको स्थानीय मिडियाले जनाएको छ ।

सावधानीका लागी दिल्लीका अधिकारीहरूले स्थानीयहरूलाई अत्यावश्यक नभए सम्म बाहिरी गतिविधिहरूमा संलग्न नहुन निर्देशन दिँदै स्वास्थ्य सुझावहरु जारी गरेका छन् ।

 

अर्याल मुख्यसचिव नियुक्त

काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । मंसिर १० गते मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन् । वरीयताको आधारमा सबैभन्दा मजबुत सचिव हुन् अर्याल । उनी हाल रक्षा मन्त्रालयमा छन् ।

अर्याल यसअघि थोरै समय राष्ट्रिय योजना आयोगको सचिव, त्यसअघि युवा तथा खेलकुद मन्त्रालयको सचिव, त्यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुख सचिव भइसकेका व्यक्ति हुन् । उनले प्रशासनिक सुधार, नीति निर्माण र संघीय संरचनामा व्यवहारिक नेतृत्व देखाएका छन् ।

वरीयताको पहिलो नम्बरमा रहेका गोकर्णमणि दुवाडी पहिलो दाबेदार भए पनि जेनजी आन्दोलनताका गृहसचिव रहेका उनी आन्दोलनको क्षति, बल प्रयोग, राजनीतिक निर्णय र कार्यान्वयनमा जोडिएकाले उनको दाबेदारी कमजोर भएको हो । अहिले जाँचबुझ आयोगले ‘विदेश जान निषेध’ समेत गरिसकेको छ ।

प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारमै जेन-जीको नाराबाजी (तस्बिरहरू)

काठमाडौं। जेन-जीहरूको एउटा समूह सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । तर उनीहरूले प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमै हो-हल्ला र नाराबाजी गरेका छन् ।

प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठले पत्नीसहित नातेदारलाई जागिर लगाएकोबारे ध्यानाकर्षण पत्र बुझाउन गएका जेन-जीको समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि नाराबाजी गरेका हुन् ।

मिराज ढुंगाना र सुदन गुरुङ नेतृत्वको जेन-जी समूह ध्यानाकर्षण पत्र बुझाउन प्रधानमन्त्री कार्यालय पुगे पनि भेट्न पाएनन् । तर प्रधानमन्त्रीले समय नदिएको उनीहरूले गुनासो गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

कर्णालीले टस जितेर फिल्डिङ रोज्यो, सुदूरपश्चिमले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । यो निर्णयसँगै अब सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्नेछ । खेल अपराह्न ४ बजे सुरु हुँदैछ ।

कर्णालीले २ खेल खेल्दा एक जित र एक हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ । दुवै टिमले प्लेइङ ११ मा कुनै बदलाव गरेको छैन ।आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ ।

 

मुलुक निर्वाचनमय भएको छ, निर्वाचन हुन्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले तोकिएकै मितिमा निर्वाचन हुनेमा सरकार ढुक्क रहेको बताएका छन् । आज (सोमवार) सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

त्यस अवसरमा मन्त्री घिसिङले मुलुक निर्वाचनमय भएको दाबी समेत गरे । उनले प्रधानमन्त्री सुशीला कार्की र आफूहरुले राजनीतिक दलहरुसँग निर्वाचनका विषयमा धेरै छलफल गरेको उल्लेख गर्दै उनीहरुले निर्वाचनमा जाने निर्णय गरेको र बाँकि राजनीतिक दलहरु पनि सोही निर्णय गर्ने पक्षमा रहेको बताए ।

मन्त्री घिसिङले भने, ‘निर्वाचनको विषय सबैले देखिराख्नु भएको छ । अब मुलुक निर्वाचनमय भएको छ । निर्वाचन हुन्छ । यसमा सबै राजनीतिक पार्टीहरु निर्वाचनको लागि धेरै छलफलहरु अस्ती पनि ८० वटा दलहरुसँग छलफल भएको छ । सम्माननीय प्रधानमन्त्री ज्यु र हामीहरु सबै पटक पटक छलफलमा छौं । सबैले निर्वाचनमा जाने आफ्नो पार्टीको निर्णय पनि गरिसकेका छन् । केही बाँकि पनि होला । तर निर्वाचन हुन्छ, फागुन २१ गते नै हुन्छ भन्नेमा हामी ढुक्क छौं ।’ मन्त्री घिसिङले आगामी निर्वाचनपछि बन्ने प्रतिनिधिसभाको पहिलो बैठक बस्ने गरी नयाँ संघीय संसद भवनको निर्माण कार्यले गति लिएको समेत बताए ।

 

उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु

पेशावर । उत्तरपश्चिमी पाकिस्तानमा सोमबार बिहान दुई आत्मघाती बम हमलाकारीले सुरक्षा बलको प्रान्तीय मुख्यालयमा आक्रमण गर्दा तीन अधिकारीको मृत्यु भएको र पाँच जना घाइते भएको प्रहरी तथा उद्धार अधिकारीहरूले बताएका छन् ।

अफगानिस्तानसँग जोडिएको खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेशावरस्थित फेडरल कन्स्टेबुलरी मुख्यालयमा भएको उक्त आक्रमणबारे सहरका प्रहरी प्रमुख सइद अहमदले पुष्टि गर्दै भने, “एक आक्रमणकारीले मुख्य गेटमै आफ्नो विस्फोटक विस्फोट गरायो भने दोस्रो बम हमलाकारीलाई पार्किङ क्षेत्रनजिकै हाम्रो सुरक्षाकर्मीहरूले गोली हानी घटनास्थलमै नियन्त्रणमा लिए ।”

उनका अनुसार आक्रमणको समयमा मुख्यालयभित्र बिहानको परेड अभ्यास भइरहेको थियो, जसमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू खुला मैदानमा उपस्थित थिए । “आतङ्ककारीहरू पैदलै प्रवेश गर्ने प्रयासमा थिए तर परेड मैदानसम्म पुग्न सकेनन् । सुरक्षाकर्मीहरूको समयमै प्रतिक्रिया नभएको भए क्षति अझ भयावह हुने थियो”, अहमदले एसोसिएटेड प्रेससँग भने ।

यस आक्रमणको जिम्मेवारी कुनै पनि समूहले हालसम्म नलिए पनि पाकिस्तानमा सक्रिय पाकिस्तानी तालिबान (तेहरीक–ए–तालिबान पाकिस्तान–टिटिपी) यस्ता आक्रमणहरूमा प्रायः संलग्न रहँदै आएको इतिहास छ । टिटिपी औपचारिक रूपमा छुट्टै समूह भए पनि अफगानिस्तानमा सत्तासीन तालिबानसँग वैचारिक तथा रणनीतिक निकटता राख्दै आएको बताइन्छ ।

यो ताजा आक्रमण पाकिस्तानको राजधानी इस्लामाबादमा अदालत बाहिर भएको आत्मघाती विस्फोट भएको दुई हप्ताभन्दा कम समयमै दोहोरिएको घटना हो । उक्त विस्फोटमा एक बम हमलाकारीले प्रहरी कारनजिकै विस्फोट गराउँदा १२ जनाको मृत्यु भएको थियो । निरन्तर भइरहेका यस्ता आक्रमणले पाकिस्तान र अफगान तालिबान सरकारबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाइरहेको विश्लेषणहरू देखिन्छन् ।

पाकिस्तानी सरकारका अनुसार टिटिपीका लडाकूहरू सन् २०२१ मा तालिबानले अफगानिस्तान कब्जा गरेपछि अफगान भूमि प्रयोग गर्दै पाकिस्तानभित्र सहज रूपमा आक्रमण सञ्चालन गरिरहेका छन् । काबुलले भने यस्तो आरोप अस्वीकार गर्दै आएको छ ।

तर काबुलमा अक्टोबर ९ मा भएको ड्रोन हमलालाई लिएर अफगानिस्तानले पाकिस्तानलाई दोषारोपण गर्दै बदला लिने चेतावनी दिएपछि दुई देशबीचको विवाद झन् गहिरिएको थियो । कतारको मध्यस्थतामा अक्टोबर १९ मा युद्धविराम भए पनि त्यसअघि भएको भिडन्तमा सैनिक, नागरिक र उग्रवादीसहित धेरैको ज्यान गएको थियो ।

युद्धविरामपछि दुई चरणमा इस्तानबुलमा वार्ता भए पनि अफगानिस्तानले टिटिपीलाई पाकिस्तानभित्र आक्रमणका लागि आफ्नो भूमि प्रयोग गर्न नदिने लिखित प्रतिबद्धता दिन अस्वीकार गर्दा वार्ता निष्कर्षविहीन भएको बताइन्छ ।

यसबीच, पाकिस्तानले पछिल्ला हप्ताहरूमा टिटिपीविरुद्ध कारबाही तीव्र बनाएको छ र अफगानिस्तानको सीमाक्षेत्रनजिकै भएका सैन्य अभियानहरूमा दर्जनौँ विद्रोही मारिएको सुरक्षा स्रोतहरूले बताएका छन् ।

ढाकाद्वारा शेख हसिनाको सुपुर्दगीका लागि नयाँ दिल्लीसँग पुनः औपचारिक आग्रह

ढाका । अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणबाट मृत्युदण्डको सजाय सुनाइएको केही दिनपछि बङ्गलादेशको अन्तरिम सरकारले उहाँको सुपुर्दगीका लागि भारतीय विदेश मन्त्रालयलाई पुनः औपचारिक पत्र पठाएको छ ।

ढाका ट्रिब्युनको एक विस्तृत रिपोर्टअनुसार रोहिङ्ग्या मुद्दाका लागि उच्च प्रतिनिधि खलीलुर रहमान भारतीय राजधानीबाट फर्किएलगत्तै नयाँदिल्लीमा नयाँ कूटनीतिक नोट पठाइएको अधिकारीहरूले पुष्टि गरेका छन् । विदेश मामिला सल्लाहकार तौहिद हुसेनले आइतबार पत्रकारहरूसँग कुरा गर्दै ढाकाले शेख हसिनाको फिर्ती सम्बन्धमा भारतसँग पुनः औपचारिक संवाद थालेको बताउनुभयो तर विस्तृत विवरण भने खुलाउन चाहेनन् ।

बङ्गलादेशको युनाइटेड न्युजले उद्धृत गरेको नयाँदिल्लीस्थित एक कूटनीतिक स्रोतका अनुसार खलीलुर रहमानले बिहीबार भाग लिएको कोलम्बो सुरक्षा सम्मेलनअन्तर्गत राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको सातौँ बैठक सकिनासाथ नोट भर्बल भारतलाई पठाइयो ।

यसै साताको सुरुआतमा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण(आइसिटी) ले गत वर्षको जुलाई–अगस्ट अशान्तिका क्रममा मानवता विरुद्धको अपराधका मुद्दामा शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको थियो । त्यस्तै, पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन पाँच वर्षको कैद सजायबाट दण्डित भएका छन् । उनी राज्य साक्षी समेत हुन्।

फैसलापछि ढाकाले भारतलाई दुवै दोषी व्यक्तिलाई बिना ढिलाइ हस्तान्तरण गर्न आग्रह गरेको ढाका ट्रिब्युनले जनाएको छ । सल्लाहकार तौहिद हुसेनका अनुसार मुद्दाको निष्कर्षपछि परिस्थिति फेरिएको हुँदा बङ्गलादेशले औपचारिक रूपमा भारतलाई आफ्नो वर्तमान धारणा अवगत गराएको छ ।

“यो दुई देशबीचको विद्यमान प्रत्यर्पण सन्धिअन्तर्गत भारतको पनि दायित्व हो”, बङ्गलादेश विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै ढाका ट्रिब्युनले लेखेको छ । विज्ञप्तिमा अझ भनिएको छ, “मानवता विरुद्धका अपराधमा दोषी ठहरिएका व्यक्तिहरूलाई आश्रय दिनु कुनै पनि देशका लागि अनुचित आचरण मात्र होइन, न्याय प्रणालीप्रति गम्भीर उपहास पनि हो ।”

यसैबीच, भारतले न्यायाधिकरणको निर्णयलाई स्वीकार गरेको र बङ्गलादेशसँग रचनात्मक रूपमा संलग्न रहिरहने प्रतिबद्धता व्यक्त गरेको छ । विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “नजिकको छिमेकीका रूपमा भारत बङ्गलादेशी जनताको शान्ति, लोकतन्त्र, समावेशीकरण र स्थिरताका लागि समर्पित छ ।” नयाँदिल्लीले यस्ता उद्देश्यहरूलाई अघि बढाउन सबै पक्षसँग मिलेर काम जारी राख्ने जनाएको छ ।

ढाकामा आयोजित एक कार्यक्रममा सुरक्षा विश्लेषक तथा बङ्गलादेश शान्ति तथा सुरक्षा अध्ययन संस्थानका अध्यक्ष ए.एन.एम. मुनिरुज्जमानले भारतले बङ्गलादेशको कानूनी प्रक्रियालाई सम्मान गर्नुपर्ने बताएका छन् । उनका अनुसार शेख हसिनाको मुद्दा ‘सबै अन्तर्राष्ट्रिय मापदण्ड र कानूनी प्रक्रियाबाट गुज्रिएको’ भएकाले ती मापदण्डको सम्मानस्वरूप उनलाई बङ्गलादेश फर्कन आवश्यक छ । दुई देशबीचको प्रत्यर्पण सन्धिमा समेत यस्ता मुद्दालाई समेट्ने प्रावधानहरू रहेको उनले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय कानूनी मान्यताअनुसार औपचारिक अनुरोध आएपछि राष्ट्रहरूले दोषी ठहरिएका व्यक्तिहरूलाई फिर्ता गर्ने अपेक्षा रहने उल्लेख गर्दै उनले भारतले सन्धिको अक्षरशः पालना गर्दै ढाकाको अनुरोधमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

जेनजी आन्दोलन : सर्वोच्च र अख्तियारसहित प्रहरीमा १०४ जाहेरी, सात शवको अझै भएन पहिचान

काठमाडौं । काठमाडौं प्रहरी परिसरले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित हालसम्म कुल १०४ वटा जाहेरी दर्ता गरेको जनाएको छ । परिसरले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त मात्रामा जाहेरी दर्ता गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिसरकार प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले दर्ता भएका उजुरीमध्ये व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ वटा रहेको जानकारी दिए ।

उनकाअनुसार भदौ २३ र २४ को आन्दोलनको क्रममा परिसरमा अहिलेसम्म ४९ जनाको मृत्यु दर्ता भएको छ । मृतकमध्ये ७ जनाको पहिचान हुन नसकेको उल्लेख गर्दै उनले पहिचानका लागि डिएनए परीक्षणका लागि पठाइएको बताए । एसपी भट्टराईले ७ वटा उजुरीहरु तामेलीमा राखिएको पनि उल्लेख गरे । उनले आन्दोलनको क्रममा भएको क्षतिका सम्बन्धमा विभिन्न २ सय २८ वटा स्थानबाट क्षतिको विवरण संकलन गरिएको बताए ।

उनले कर्तव्य ज्यान, आपराधिक उपद्रव, चोरी, हातहतियार खरखजनासम्बन्धी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगसम्बन्धी १ सय ५४ मुद्दा दर्ता गरिएको जानकारी दिए । उनका अनुसार दर्ता भएका मुद्दामा प्रहरीले हालसम्म २ सय ६७ जनालाई पक्राउ गरेको छ । तीमध्ये ८७ जनालाई हाजिरी जमानीमा छोडेर अनुसन्धान जारी छ भने १ सय १३ जनालाई न्यायिक हिरासतमा राखिएको छ ।

न्यायिक प्रक्रियामा पेस गरिएका अभियुक्तमध्ये २३ जना धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा राखिएका छन् । पक्राउ परेकामध्ये ५ जना मात्र महिला रहेको उनले जानकारी दिए । उनले जेनजी आन्दोलदनका क्रममा जेलब्रेक गरेर भागेका ५९ जनालाई फिर्ता ल्याइएको बताए । पुनः पक्राउ गरिएका थुनुवाहरु ज्यान मार्ने उद्योगदेखि अभद्र व्यवहारमा सजाय काटिरहेको उनको भनाइ छ । उनले बाँकी १५ जना थुनुवाहरु समेत आफूहरुको सम्पर्कमा रहेको जानकारी दिए ।

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको सातौँ ९हिउँदे० अधिवेशन आजदेखि सुरु भएको छ । सातौँ अधिवेशनको पहिलो बैठक दिउँसो १ः०० बजदेखि सुरु भएको हो ।

सभामुख तुलाराम घर्तीमगरले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाएका छन् । ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश थिए ।

हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् ।

प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयकहरु प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ । लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेस गर्न सरकारले स्वीकृत दिएको हो । लुम्बिनीमा गत भदौ ३१ गते छैटौँ अर्थात् वर्षे अधिवेशन अन्त्य भएको थियो ।

देउवालाई ‘सुवर्ण शमशेर पथ’ पछ्याउन विश्वप्रकाशको सुझाव

काठमाडौं । नेपाली कांंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनका विषयमा दुई वटा प्रस्ताव राख्दै त्यसै सिलसिलामा फागुन २१ को प्रतिनिधिसभा निर्वाचन पछि सार्न सकिने प्रस्ताव राखेका छन् । इलाम पुगेका महामन्त्री शर्माले महाधिवेशनका सन्दर्भमा दुई बुँदे प्रस्ताव राख्दै उक्त विषय पनि राखेका हुन् । ‘समय घर्कदै गयो, अब नियमित महाधिवेशन सम्भव हुन्छ ?,’ भन्ने पार्टीका नेताहरूको जिज्ञासामा आफू अझै प्रस्ट रहेको महामन्त्री शर्माले बताए । उनले भने, ‘म प्रस्ट छु, सबै ऐक्यबद्ध भएर जुटौँ, महाधिवेशन सम्भव छ, विकल्प दुई वटा छन् ।’

पहिलो विकल्प–पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्ने गरी अबको बैठकबाट कार्य तालिका निर्माण गर्ने रहेको उनले बताए । ‘महाधिवेशन तयारी क्रममा कहिदिन समय नपुग्न सक्ने अवस्था देखिए, थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्ने,’ उनले भने ।
यसैमा ‘समानुपातिकको सुची बुझाउने मिति वा फागुन २१ को चुनाव पनि केही पछि सर्न सक्ने’ शर्माले दाबी गरे । ‘शान्तिपूर्ण वातावरण बन्नुपर्ने आवश्यकता र हिमाली क्षेत्रको मौसमी प्रतिकुलता दृष्टिगत गरेर थोरै पछि सर्न सक्ने सम्भावनालाई राजनैतिक सहमतिमार्फत हल खोज्नु उत्तम हुन्छ,’ महामन्त्री शर्माले अगाडि भने ।

दोस्रो विकल्पमा पार्टी सभापति शेरबहादुर देउवालाई देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर ‘सुवर्ण शमशेर पथ’ पछ्याउन उनले सुझाव दिए । ‘त्यो भनेको २०१४ सालमाझैं स्वयं सभापतिले मार्ग प्रशस्त गर्ने,’ महामन्त्री शर्माले अगाडि भने, ‘त्यसले एकातर्फ पार्टीले निकास प्राप्त गर्छ, अर्कोतर्फ उहाँको सम्मान र अभिभावकत्वको भूमिकाले उचाइ पाउनेछ ।’ ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान नसक्ने उनले दाबी गरे। ‘तब २०८२ मंसिर मसान्तमा विशेष महाधिवेशन, २०८३ मंसिरमा नियमित महाधिवेशन गर्न सकिनेछ,’ महामन्त्री शर्माले भने ।

 

पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र

पर्वत । ‘एक पालिका एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत पर्वतको कुश्मास्थित पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र परेको छ । कुश्मा नगरपालिका–१ पाङमा २०७६ सालमा सुरु गरिएको औद्योगिक ग्राम योजना बजेट अभाव तथा कानुनी झमेलाका कारण अलपत्र परेको हो ।

औद्योगिक ग्रामका लागि आवश्यक जग्गा अधिग्रहण गरी सम्याउने, तारबार लगाउने र पहुँचमार्ग निर्माण गर्ने काम गरिएको भएपनि वन क्षेत्रसम्बन्धी कागजी प्रक्रिया, स्थानीय सहमति र प्रशासनिक ढिलासुस्तीका कारण काम अघि बढ्न नसकेको कुश्मा नगरपालिकाले जनाएको छ ।

परामर्शदाता छनोट, बोलपत्र आह्वानलगायतका कानुनी प्रक्रिया पूरा गरी २०७६ साल फागुनमा वडा नंं १ मा रहेको नेपाने सामुदायिक वन समूहसँग सहमति लिएर काम सुरु भए पनि विभिन्न बाधाव्यवधानका कारण अपेक्षिति परिणाम आउन नसकेको नगरपालिकाले स्पष्ट गरेको छ ।

औद्योगिक ग्राम निर्माणका लागि १८० रोपनी जग्गा अधिग्रहण गरी काम अघि बढाइएकामा सामुदायिक वनका रुखहरु मासिएको भन्दै डिभिजन वन कार्यालयमा उजुरी परेपछि प्रारम्भिक चरणमै काम रोकिएको हो ।

कुश्मा नगरपालिका–१ का अध्यक्ष खगराज पौडेलका अनुसार नगरको प्राथमिकतामा उद्योग ग्राम निर्माण भए पनि वन तथा वातावरण मन्त्रालय एवं सरोकारवालामाझ समन्वय अभावका कारण योजना स्थगित भएको हो ।

स्थानीय जनप्रतिनिधिले पनि सङ्घ–प्रदेश र नगरबीचको समन्वय अभाव, ढिलासुस्ती र विविध कागजी प्रक्रियाले योजना रोकिएको बताएका छन् । औद्योगिक ग्राम निर्माणमा लामो समयसम्म भएको अवरोध हटाउन चाँडै प्रभावकारी पहल गर्नुपर्ने सरोकारवालाको माग छ ।

कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले निर्माणाधीन औद्योगिक ग्रामलाई पूर्णता दिने पक्षमा पहल भइरहेको र सङ्घ तथा प्रदेश सरकारसँग बजेट माग गरिएको बताएका छन् । प्रमुख जोशीले बनको समस्यासहित आवश्यक बजेट अभावका कारण एक पालिका एक औद्योगिक ग्राम कार्यक्रम अपेक्षा गरिएअनुसार अघि बढ्न नसकेको स्पष्ट गर्दै कानुनी प्रक्रियामा अड्चन नआए र माग गरिएअनुसार बजेट विनियोजन भए सो योजना सफल हुने धारणा व्यक्त गरेका छन् ।

विश्व महिला सम्मेलनको दोस्रो सैद्धान्तिक सेमिनार काठमाडौँमा हुँदै

काठमाडौँ । विश्व महिला सम्मेलनको दोस्रो सैद्धान्तिक सेमिनार यही मङ्सिर ११ देखि १३ गतेसम्म नेपालमा हुँदैछ । सन् २०२२ मा ट्युनिसमा भएको सम्मेलनले काठमाडौँमा दोस्रो सैद्धान्तिक सेमिनार गर्ने निर्णय गरेको थियो ।

सम्मेलनका एसियाली क्षेत्रका संयोजक दुर्गा पौडेलले सैद्धान्तिक छलफलमा विश्वका चार महादेशका २० भन्दा बढी देशका महिला सहभागी हुने जानकारी दिएका छन् । छलफलमा विश्वमा बढ्दो साम्राज्यवादबाट महिलालाई परेको असर, समाजवाद क्रान्तिका लागि महिलाको एकरुपता तथा साम्राज्यवादविरुद्ध महिलाको एकमतलगायत विषयमा सैद्धान्तिक बहस हुने उनले बताएका छन् ।

विभिन्न ६ महिला सङ्गठनको सहकार्यमा सम्मेलन हुन लागेको संयोजक पौडेलले बताएका छन् । यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी महिला अधिकारकर्मीले महिलाका समस्या, शोषण र उत्पीडनको मूल कारणका रूपमा साम्राज्यवादी व्यवस्थालाई औँल्याए ।

विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार (तस्वीरहरु)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो ।योसँगै जनकपुरको दोस्रो हार भएको छ । सोमबार भएको पहिलो खेलमा विराटनगरले जनकपुरलाई अन्तिम ओभरमा पराजित गरेको हो । विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले नौ विकेट गुमाएर १२६ रन बनायो ।

जनकपुरका लागि निकोल लोफ्टी इटनले सर्वाधिक ४१ रन बनाए । त्यस्तै, लाहिरु मिलन्थाले २३, सञ्जय कृष्णमूतीले २० र आसिफ शेखले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । विराटनगरका लागि सन्दीप लामिछानेले चार, सूर्य तामाङले दुई, शुभम रञ्जाने र मर्चेन्ट डि लांगेले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले सात विकेटको क्षतिमा १३५ रन बनाएको थियो । विराटनगरका लागि शुभम रञ्जानेले ३७, वसिर अह्मदले ३६, लोकेश बमले ३८, मार्टिल गप्टिलले १३ र जर्ज मन्सीले १० रन बनाए । जनकपुरका लागि संगीत कुर्रे र रुपेश सिंहले दुई–दुई तथा आदित्य महताले एक विकेट लिए । आजै अर्को खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्दैछन् ।