`

सभामुखले भने : ‘प्रधानमन्त्रीसँग संवाद गर्छु।’

काठमाडौं । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यसूची अघि नबढाउन माग गरेको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य भएको अडान दोहोर्‍याउँदै छलफल अगाडि बढाउन नहुने बताएका हुन् ।

उनले नीति तथा कार्यक्रममाथि बहस चलिरहँदा प्रधानमन्त्री बालेन शाह स्वयं उपस्थित हुनुपर्ने बताए । साथै उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पनि चासो व्यक्त गरेका थिए ।

तर सभामुखले आजको बैठकको कार्यसूची अगाडि बढाउन आग्रह गरेका छन् । उनले प्रधानमन्त्रीसँग छलफलपछि मात्रै भोलिको कार्यक्रम तय गर्ने संकेत दिएको जानकारी दिइएको छ ।

बादलको तीन शब्द हटाइयो, रास्वपाका दुई सांसदको असंसदीय शब्द के होला ?

काठमाडौं। प्रतिनिधिसभाको बैठक फेरि सुरु भएको छ । बैठक सुरु भएलगत्तै नेकपा एमालेका प्रमुख सचेतक ऐन महर उठेर अवरोध गरेका छन् । त्यसपछि उनलाई सभामुख डीपी अर्यालले बोल्न समय दिए ।

लगत्तै उनले एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्ति संसदको रेडर्कबाट हटाएकोबारे जानकारी मागे । उनले भने, ‘सभामुखज्यू, कुन कुन शब्द संसदको रेडर्क हटाइयो ? जानकारी पाउँ ।’

उनले भने रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पनि मंगलबार असंसदीय शब्दहरू ‘भरौटे’ र ‘आसेपासे’ प्रयोग गरेको भन्दै दुवै शब्द हटाउन माग गरे ।

उनले रास्वपाका अर्का सांसद रमेश प्रसाईंले सोही दिन ‘नरसंहारकारी’ शब्द प्रयोग गरेको भन्दै हटाउन माग गरे ।

यसपछि सभामुख अर्यालले एमाले संसदीय दलका नेता बादलले प्रयोग गरेको ‘रास्वपालाई अराजकहहरूको भिड’, राष्ट्रिय झण्डा बोकेर देश जलाएको र नेपाली सेना मुखदर्शक बनेको भन्ने शब्द हटाउन सचिवालयलाई निर्देशन दिएको बताए ।

‘बादल’को अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा बैठकमा व्यक्त विवादास्पद अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिएका छन् ।

सभामुख डोलप्रसाद अर्याल ले नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा ले दिएको भनिएको असंसदीय अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनाल ले नेता थापाको अभिव्यक्ति असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए । त्यसपछि सभामुख अर्यालले नियमावलीअनुसार उक्त शब्द हटाउन निर्देशन दिएका हुन् ।

यसैबीच, सांसद खनालले धारणा राखेपछि एमाले सांसद ऐन महर ले विरोध जनाएका थिए ।

१५ मिनेटका लागि स्थगित सदन अझै सुरु भएन, के मा मिलेन कुरो ?

काठमाडौं। प्रतिनिधिसभा बैठक बुधबार पनि अवरुद्ध भएपछि राजनीतिक तनाव थपिएको छ ।

सभामुख डिपी अर्याल ले १५ मिनेटका लागि स्थगित गरेको बैठक एक घण्टा बितिसक्दा पनि सुरु हुन सकेको छैन । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अघि बढ्न नदिने अडान लिएपछि सदनमा नाराबाजी भएको हो ।

विपक्षी दलहरूको माग अनुसार नीति तथा कार्यक्रममाथिको छलफलको जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्ने भनिएको छ । तर सरकार पक्षले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्ले ले जवाफ दिने तयारी गरेपछि विवाद चर्किएको हो ।

शून्य समयमा सांसदहरूले बोलिसकेपछि सभामुख अर्यालले अर्थमन्त्री वाग्लेलाई समय दिएका थिए । त्यसपछि कांग्रेस, एमाले, नेकपा र श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाउँदै प्रधानमन्त्रीको अनुपस्थितिमा छलफल अघि बढाउन नहुने अडान राखेका थिए ।

सत्तापक्षका सांसदहरूले भने प्रतिनिधिसभा नियमावलीको दफा ३८ अनुसार प्रधानमन्त्री अनुपस्थित भएमा सम्बन्धित मन्त्रीले जवाफ दिन सक्ने व्यवस्था रहेको भन्दै बैठक सञ्चालन गर्नुपर्ने तर्क गरेका छन् ।

तर विपक्षीले प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिबिना नीति तथा कार्यक्रममाथिको छलफल अर्थहीन हुने भन्दै सभामुखसँग कडा आपत्ति जनाएका छन् ।

विवाद चर्किएपछि सभामुख अर्यालले बैठक स्थगित गर्दै अहिले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

५४९ रुपैयाँमा फिफा वर्ल्डकपका सबै खेल हेर्न पाइने

काठमाडौं । नेपालमा फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारणका लागि हिमालय स्पोर्ट्स र डीगो एपले शुल्क निर्धारण गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।

विश्वकपका कुल १०४ खेल हेर्न दर्शकले सब्स्क्रिप्सन लिएर शुल्क तिर्नुपर्नेछ । टेलिभिजनमार्फत हेर्न चाहने दर्शकका लागि हिमालय स्पोर्ट्स च्यानल हेर्न प्रति सेट-टप बक्स ९९९ रुपैयाँ (करसहित) शुल्क तोकिएको छ ।

यसका लागि दर्शकले सम्बन्धित केबल अपरेटर वा टेलिभिजन सेवा प्रदायकमार्फत सेवा सक्रिय गर्नुपर्नेछ ।

मोबाइल एपमार्फत मात्र खेल हेर्न चाहने दर्शकका लागि डीगो एप ले ५४९ रुपैयाँ (करसहित) शुल्क तोकेको छ ।

त्यस्तै डीगो एपले सीमित अवधिका लागि ‘अर्ली बर्ड अफर’ अन्तर्गत ९९९ रुपैयाँको सब्स्क्रिप्सन ७९९ रुपैयाँमै उपलब्ध गराउने जनाएको छ । उक्त सब्स्क्रिप्सनपछि मोबाइल एपसँगै वेबसाइटमार्फत पनि खेल हेर्न सकिनेछ । तर एक पटकमा एकै डिभाइसमा मात्र स्ट्रिम गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रसारण अधिकार एसप्रो मिडियाले प्राप्त गरेको हो, जसले नेपालमा हिमालय स्पोर्ट्स र डीगो एपलाई आधिकारिक प्रसारण साझेदार बनाएको छ ।

अस्पतालको ३८ लाख हिनामिना : ५ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाअन्तर्गत रहेको आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्दौटाको सरकारी रकम हिनामिना गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अस्पतालको सेवा शुल्क र फार्मेसीबाट संकलन भएको करिब ३८ लाख १९ हजार ७७० रुपैयाँ रकम बैंकमा जम्मा गर्नुको सट्टा नक्कली बैंक भौचर बनाएर हिनामिना गरिएको पाइएको छ ।

आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका क्रममा १२९ वटा बैंक भौचर फाइलमा भेटिए पनि सो बराबरको रकम बैंक खातामा जम्मा नभएको खुलेपछि घटना सार्वजनिक भएको हो ।

पक्राउ पर्नेमा शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित पाण्डेय, फार्मेसी सहायक रुक्सना खातुन, नेपाल बैंक लिमिटेड चन्दौटा शाखाका क्यासियर कमल प्रसाद भण्डारी र कार्यालय सहयोगी विक्रम केसी रहेका छन् ।

उनीहरूलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ गरी ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डीडीसीमा ‘कर्मचारीलाई निःशुल्क दूध-घिउ’ सुविधा बन्द, ७८ लाख रुपैयाँ बचत हुने दाबी

काठमाडौं । सरकारी संस्थानहरूमा हुने अनावश्यक खर्च र सुविधाबारे कडाइ गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) मा कर्मचारीलाई दिइँदै आएको निःशुल्क दूध र घिउको सुविधा तत्काल बन्द गर्न निर्देशन दिएकी छन् ।

डीडीसीका कर्मचारीहरूले नियमविपरीत दैनिक दूध र मासिक रूपमा घिउ घर लैजाने गरेको आरोप लाग्दै आएको थियो । संस्थान घाटामा जाने, किसानले दूधको भुक्तानी नपाउने तर कर्मचारीले सुविधा उपभोग गर्ने अवस्थाबारे आलोचना हुँदै आएको थियो ।

मन्त्रालयका अनुसार मन्त्रीको निर्देशनपछि करिब ७८ लाख रुपैयाँ वार्षिक खर्च बचत हुने अनुमान गरिएको छ । मन्त्री चौधरीले संस्थान कर्मचारी पाल्ने माध्यम मात्र नभई किसान र उपभोक्ताको सेवामा केन्द्रित हुनुपर्ने बताएकी छन् ।

सञ्चित हुने रकम अब किसानको बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धि कार्यक्रमहरूमा प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।

चीन-अमेरिका सम्बन्धका ‘चार लक्ष्मणरेखा’ ननाघ्न चीनको चेतावनी

एजेन्सी। अमेरिकास्थित चिनियाँ दूतावासले चीन–अमेरिका सम्बन्धका संवेदनशील विषयहरूमा आफ्नो अडान पुनः दोहोर्याउँदै चारवटा ‘लक्ष्मणरेखा’ ननाघ्न चेतावनी दिएको छ ।

मे १३ देखि १५ सम्म अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चीन भ्रमण हुने तयारीका बीच दूतावासले सामाजिक सञ्जाल एक्समार्फत यस्तो धारणा सार्वजनिक गरेको हो ।

दूतावासले ‘चीन–अमेरिका सम्बन्धका चारवटा लक्ष्मणरेखा चुनौती दिनु हुँदैन’ भन्दै ताइवान मुद्दा, लोकतन्त्र र मानवअधिकार, चीनको राजनीतिक प्रणाली तथा विकासको अधिकारलाई संवेदनशील सीमा (रेखा) का रूपमा उल्लेख गरेको छ ।

चिनियाँ पक्षले यी चार विषयमा बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट संकेत दिएको बताइएको छ ।

इजलासमै हुलहुज्जतपछि रोशनी वादी पक्राउ

काठमाडौं । सर्वोच्च अदालतको इजलासमै हुलहुज्जत गरेपछि वादी अभियन्ता रोशनी वादीलाई प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिएको छ ।

उनी हाल सिंहदरबार प्रहरी वृत्तको नियन्त्रणमा रहेको काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईले जानकारी दिएका छन् ।

अभियन्ता वादी हाल प्रदर्शनमा रहेको चलचित्र लालीबजार विरुद्धको मुद्दामा बहसका लागि सर्वोच्च अदालत पुगेकी थिइन् । आफ्नै रिटमाथि सुनुवाइ भइरहँदा उनले इजलासमै हुलहुज्जत गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार अदालत परिसरमै अशान्ति सिर्जना भएपछि उनलाई नियन्त्रणमा लिएर प्रहरी वृत्तमा राखिएको हो ।

रोशनी वादीले उक्त चलचित्रले वादी समुदायका महिलाको छवि बदनाम गरेको भन्दै प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् ।

यसअघि पनि उनी विभिन्न विरोध कार्यक्रमका क्रममा चर्चामा आएकी थिइन्, जसमा केही दिनअघि रास्वपा सभापति रवि लामिछानेको गाडी अगाडि सुत्ने घटना पनि परेको थियो ।

यस्तो देखियो सदनको दृश्य (तस्वीरहरू)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री नआएपछि प्रमुख प्रतिपक्षी दलले बैठकमा अवरोध गरेका थिए ।

प्रमुख प्रतिपक्षी दलको मागअनुसार बैठक स्थगित गरिएको हो ।

अवरोधका बीच सभामुखले बैठक सञ्चालन गर्ने प्रयास गरे पनि विपक्षी दलहरूले सहमति नजनाएपछि बैठक स्थगित गरिएको हो।
तस्वीरहरू:

बेटिङ गरेको आरोपमा तीन जना पक्राउ

सुर्खेत । अनलाइन जुवा (बेटिङ) सञ्चालन तथा बैंक खाता दुरुपयोग गरी शंकास्पद आर्थिक कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बाबियाचौरका अनुसार सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत अनलाइन जुवा सट्टेबाजी सञ्चालन भइरहेको गोप्य तथा प्राविधिक सूचनाका आधारमा अनुसन्धान गर्दा उनीहरू संलग्न रहेको खुलेपछि पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका–९ का ३९ वर्षीय महेन्द्रकुमार बोहरा, ४२ वर्षीय यामलाल विक र ४४ वर्षीय डम्बर विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुटथापाका अनुसार शिक्षक पेशामा संलग्न बोहराले विभिन्न बैंकमा ६ वटा खाता खोली अनलाइन बेटिङ तथा ठगीमा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनको खातामार्फत करिब २ करोड ४६ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, व्यवसायी यामलाल विकले ५ वटा बैंक खाता सञ्चालन गरी शंकास्पद कारोबार गरेको तथा होटल व्यवसायी डम्बर विकले ९ वटा बैंक खाता खोलेर दुरुपयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई बैंकिङ कसुर, जुवा सट्टेबाजी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

झोक्किएर निस्केको हर्कको दल सदन बाहिर (तस्वीरहरू)

काठमाडौं। श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले प्रधानमन्त्री असक्षम भएको भन्दै राजीनामा माग गरेका छन्।

उनी झोला बोकेर बैठकबाट उठेर हिँडेका छन्।

सभामुख र विपक्षी दलका सांसदहरूबीच सवाल-जवाफ पनि चलेको छ।

प्रधानमन्त्री शाह नआए बैठक बहिष्कार गर्ने कांग्रेसको चेतावनी

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले नदिने भए संसद् बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ ।

प्रतिनिधिसभाको बैठकमा विपक्षी दलको तर्फबाट बोल्दै सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले जवाफ दिन नआए आफूहरू गम्भीर रूपमा लिने बताए ।

उनले प्रधानमन्त्रीले संसदीय मर्यादा उल्लङ्घन गरेको आरोपसमेत लगाए ।

केसीले भने, ‘प्रधानमन्त्रीबाट एकपछि अर्को गरेर संसदीय परम्परा, मान्यता र त्यसका मूल्य-पद्धतिमाथि उपेक्षा भएको भन्ने आम रूपमा प्रश्न उठेको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले तोकेको कुनै पनि मन्त्रीले प्रस्तुत गर्ने परम्परा भए पनि त्यो पालना भएको छैन ।’

उनले थपे, ‘जवाफ दिने बेलामा पनि प्रधानमन्त्री अनुपस्थित रहे हामी बैठकमा सहभागी हुन सक्दैनौँ ।’

केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले पढिरहेका बेला प्रधानमन्त्री उठेर हिँडेको प्रसंग पनि उठाउँदै त्यसलाई संसदीय असंवेदनशीलता भनेका छन् ।

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै हर्क हिँडे झोला बोकेर

काठमाडौं । श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले प्रधानमन्त्री असक्षम भएको भन्दै राजीनामा माग गरेका छन्।

उनी झोला बोकेर बैठकबाट उठेर हिँडेका छन्।

सभामुख र विपक्षी दलका सांसदहरूबीच सवाल–जवाफ पनि चलेको छ।

प्रधानमन्त्री बालेनको राजीनामा माग गर्दै विपक्षी दलले गरे सदन अवरुद्ध

काठमाडौं। प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गरेका छन्।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षी दलहरूले प्रधानमन्त्री बालेनको राजीनामा माग गर्दै सदन अवरुद्ध गरेका हुन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि बालेनको राजीनामा माग गरेका छन्।

बुधबारको छलफलमा प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न सभामुख डीपी अर्यालले अनुमति दिएका थिए।

अनुमति दिइएसँगै संसदका सबै विपक्षी दलहरू उठेर विरोध जनाएका थिए।

रास्वपा केन्द्रीय समिति बैठक : के-के गर्यो निर्णय ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको पहिलो महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गर्ने निर्णय गरेको छ ।

बुधबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले स्थापना दिवसको अवसर पारेर महाधिवेशन गर्ने निर्णय गरेको रास्वपा नेता प्रकाशचन्द्र परियारले जानकारी दिए ।

उनका अनुसार महाधिवेशनको मिति तय भएसँगै पार्टी केन्द्रीय समिति आयोजक समितिमा रूपान्तरण भएको छ ।

बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरू समेत गठन गरेको छ । महाधिवेशनमा ७७ वटै जिल्लाबाट कम्तीमा २५ सय प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको नेता परियारले बताए ।

उनले भने, ‘महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । देशभरबाट प्रतिनिधिहरू सहभागी हुनेछन् ।’

बैठकले प्रदेश अधिवेशनको कार्यतालिकासमेत तय गरेको छ । जसअनुसार जेठ २६ गते वाग्मती, २७ गते कोसी, २८ गते मधेस, २९ गते गण्डकी, ३० गते लुम्बिनी, ३१ गते कर्णाली र असार १ गते सुदूरपश्चिम प्रदेश अधिवेशन आयोजना गरिनेछ ।

पालिका अधिवेशन पनि आयोजना गर्ने तयारी गरिएको र पालिका अधिवेशन हुन नसकेको अवस्थामा हालका पालिका संयोजकलाई नै महाधिवेशन प्रतिनिधि बनाइने व्यवस्था गरिएको परियारले जानकारी दिए ।

‘बालेन सरकारले डाेजर चलाएर सुकुम्बासीकाे उठिबास लगाउँदा मुटु छियाछिया’ (भिडियो)

काठमाडौं। नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले सुकुम्बासीमाथि भइरहेको डोजर आतंकबारे कडा आपत्ति जनाउँदै प्रधानमन्त्री बालेन्द्र शाहकाे आलाेचना गरेकी छन् । 

प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले भनिन्, ‘सुकुम्बासी सवाल आज देशको मात्रै नभएर विदेशको पनि बनेको छ। २४ घण्टाको सूचना र डोजर आतंकले मुटु नै छियाछिया बनाएको छ।’

उनका अनुसार विकासको नाममा गरिबलाई घरबारविहीन बनाउनु अमानवीय व्यवहार हो र त्यसले राज्यको संवैधानिक मूल्य तथा मौलिक हकको उपहास गरेको छ।

सांसद सिद्धिकीले चेतावनी दिंदै थपिन्, ‘मानवताले हार मानेको बेला देश कसरी हाँस्न सक्छ? विकासको नाममा नागरिकलाई उजाड बनाउने अधिकार कसलाई छ?’

सिद्धिकीले प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारले जनतामाथि लागू गरिरहेको कठोर नीति–व्यवहार राष्ट्रिय स्वतन्त्र पार्टीको बाचा–प्रतिबद्धतासँगै मेल नखाने टिप्पणीसमेत गरिन्।

‘रास्वपाको बाचापत्र देश र नागरिकको पहिचान बन्नुपर्ने थियो। आशा गर्छु-आगामी दिनमा त्यो बाचा पूरा होस्। सरकार त रास्वपाकै छ,’ उनको भनाइ थियो।

सांसद सिद्धिकीले संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्ने अधिकारलाई राज्यले सुनिश्चित गर्नुपर्ने भन्दै गरिब वस्तीसम्म आइपुगेको डोजर अभियान तत्काल रोक्न माग गरिन्।

बालेनका दाहिने हात मानिने भूपदेवको संयोजकत्वमा रास्वपाले बनायो एकता समायोजन समिति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री भूपदेव साहको संयोजकत्वमा एकता समायोजन समिति गठन गरेको छ ।

बुधबार  बसेको केन्द्रीय समिति बैठकले साहको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार समितिका सदस्यमा विष्णु पुरुष श्रेष्ठ, रामकृष्ण भट्टराईलगायत रहेका छन् ।

आचार्यले भने, ‘बैठकले महामन्त्री भूपदेव शाहको संयोजकत्वमा एकता समायोजन समिति गठन गरेको छ । जेठ १० गतेसम्म समायोजन मस्यौदा पेस गर्न निर्देशन दिएको छ ।’

बैठकले समायोजनसम्बन्धी मस्यौदा तयार गरी आगामी जेठ १० गतेभित्र पेस गर्न समयसीमा तोकेको छ ।

रास्वपाले फागुनमा सम्पन्न निर्वाचनअघि विवेकशील साझा, थरुहट/थारुवान समूह, बालेन शाह समूह तथा विभिन्न जेनजी समूहसँग एकता गरेको थियो ।

हर्कलाई हटाएर प्रतिनिधिसभाको सचिवमा अधिकारीको नाम सिफारिस

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।

यसअघिका सचिव हर्कराज राईलाई हटाएर सभामुख अर्यालले अधिकारीको नाम सिफारिस गरेका हुन् । सङ्खुवासभा निवासी अधिकारी नेपाल सरकारको उपसचिव पदबाट अवकाश प्राप्त पूर्वकर्मचारी हुन् ।

संविधानको धारा १०६ को उपधारा (१) बमोजिम सभामुखको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको सचिव नियुक्त गर्ने व्यवस्था रहेको छ ।

स्रोतका अनुसार संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाका सर्त तथा सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार विशिष्ट श्रेणीको सचिवसरह सेवा सुविधा पाउने गरी अधिकारीको नाम सिफारिस गरिएको हो ।

यद्यपि, राष्ट्रपतिबाट उनको नियुक्ति भने हालसम्म भएको छैन ।

पाँचथर–तेह्रथुम जोड्ने पुल निर्माण थालेको १५ वर्षमा तीन खम्बा ठढियो, छिटो निर्माणको माग

काठमाडौं। नेकपा एमालेकी सांसद विष्णुमाया विकले पाँचथर र तेह्रथुम जोड्ने लुबुघाटमा अलपत्र परेको मोटरेबल पुलको निर्माण कार्य तत्काल अगाडि बढाउन माग गरेकी छन् ।

निर्माण कार्य थालनी भएको १५ वर्ष बित्दा पनि पाँचथरतर्फ तीनवटा पिलर ठढ्याउने बाहेक काम नभएको भन्दै उनले आक्रोश पोखिन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने उनले भनिन्, ‘निर्माण कार्य सुरु भएको १५ वर्ष भयो । पुल निर्माण कार्य सम्पन्न भएको छैन । उक्त पुल निर्माण कार्य स्वच्छन्द निर्माण सेवाले ठेका लिएको बुझिन्छ ।
पाँचथरतर्फ तीनवटा पिलर उठाएर पुल निर्माण कार्य अलपत्र छोडिएको छ ।’

उनले मोटरेबल पुल निर्माणको काम के कारणले सम्पन्न नभएको भन्दै सरकारसँग प्रश्न गरेकी छन् ।

तत्काल अनुसन्धान गरी पुल निर्माण कार्य अगाडि बढाउन उनले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

यस्तै, सिन्धुलीको सुनकोशी गाउँपालिकाका श्रीकृष्ण विकको प्रहरी हिरासतमा भएको मृत्युप्रकरणको निष्पक्ष छानबिन गरी सत्य सार्वजनिक गर्न माग गरेकी छन् ।
दलितका लागि प्रहरी हिरासतसमेत सुरक्षित नभएको भन्दै यसले दलित समुदायलाई गम्भीर बनाएको बताइन् ।

सदनमा प्रधानमन्त्री बालेनको खोजी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहलाई खोजेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्री बैठकमा अनुपस्थित रहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले नीति तथा कार्यक्रममाथिको छलफल हुने बैठकमा प्रधानमन्त्रीलाई अनिवार्य उपस्थित गराउन सभामुखसँग रुलिङको माग गरे ।

राईले अघिल्लो दिन आफ्नो दलका नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन माग गरेको प्रसंगसमेत स्मरण गराए ।

नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहे पनि प्रधानमन्त्री शाह उपस्थित नहुने भएका छन् । त्यसपछि कार्यसूची संशोधन गरी अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने व्यवस्था गरिएको छ ।

कांग्रेसले सभामुखलाई भन्यो – सत्तारुढ दलले जे बोल्दा पनि संविधान बाधक नबन्ने हो ?

काठमाडौं। नेपाली कांग्रेसका सचेतक निश्कल राईले गणेश पराजुलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले अघिल्लो दिन बसेको बैठकमा रास्वपा संसदीय दलका उपनेता पराजुलीले न्यायाधीशसम्बन्धी विषय उठाएको भन्दै आलोचना गरे ।

राईले भने, ‘महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख छ । तर सत्तारुढ दलकै एक वरिष्ठ माननीयज्यूले गरिमामय सदनको रोस्ट्रममा उभिएर दुई तिहाइको दम्भ देखाउँदै सदनलाई लत्काएर न्यायाधीशको बारेमा बोल्नुभयो । यो अनैतिक, अराजनीतिक मात्र होइन, असंवैधानिक पनि छ । सभामुख महोदय, उहाँले संविधानको धारा १०५ पढ्नुभएन कि ?’

उनले नेपालको कुनै अदालतमा विचाराधीन मुद्दासम्बन्धी विषय तथा न्यायाधीशले कर्तव्य पालनाको सिलसिलामा गरेको न्यायिक कार्यबारे संसद्मा छलफल गर्न नपाइने संवैधानिक व्यवस्था रहेको उल्लेख गरे ।

राईले थपे, ‘उहाँ संविधानभन्दा के माथि हो ? के सत्तारुढ दललाई जे बोल्दा पनि संविधान बाधक नबन्ने हो ? रोस्ट्रममा उभिएर असंवैधानिक विषय उठाउने र सभामुख टुलुटुलु हेरेर बस्न मिल्दैन ।’

उनले उक्त विषयमा सभामुखले स्वयं रुलिङ गर्ने अपेक्षा गरेको भए पनि त्यसतर्फ ध्यान नपुगेको टिप्पणी गरे ।

राईको अभिव्यक्तिपछि गणेश पराजुलीले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले कुन नियमावलीअनुसार विरोध गरिएको हो भन्दै प्रश्न गरेका थिए ।

सभामुखले अघिल्लो दिनको अभिव्यक्ति आफूले अध्ययन गर्न बाँकी रहेको भन्दै पराजुलीलाई रोकेर बैठकको कारबाही अघि बढाएका थिए ।

नेपाललाई ‘डिजिटल भिलेज’ बनाउन रास्वपा सांसदको अधिकारीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारी आचार्यले ‘डिजिटल नेपाल’ कार्यक्रम कार्यान्वयन गर्न सरकारसँग माग गरेकी छन् ।

उनले नेपाललाई डिजिटल भिलेज बनाउनुपर्ने भन्दै युवाहरूलाई देशमै बसेर डलर आर्जन गर्ने हैसियतमा पुर्‍याउनुपर्ने बताइन् ।

त्यसो गरिए रित्तिएका पहाडका गाउँहरू भरिभराउ हुने उनको भनाइ छ ।

सरकारले प्रविधिलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले वर्क फ्रम होमबाट नेपाली युवाले डलर आर्जन गर्न सके देश समृद्धिको बाटोमा अगाडि बढ्ने दाबी गरिन्

प्रधानमन्त्री बालेनले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ नदिने

काठमाडौं । आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् ।

बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याएर अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यसूची तय गरिएको छ ।

यसअघि नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने परम्परा रहँदै आएको थियो । तर यसपटक बालेन्द्र शाह नेतृत्वको सरकारले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीमार्फत जवाफ दिने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री सचिवालयका एक सदस्यका अनुसार, ‘नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने कार्यक्रम छ । सहमतिमै यस्तो कार्यसूची तय गरिएको हो ।’

यसअघि संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा भने प्रधानमन्त्री शाहले नै जवाफ दिने उल्लेख गरिएको थियो ।

वैशाख २८ गते बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

‘खल्ती’ले ल्यायो ब्याज सुविधा

काठमाडौं । डिजिटल भुक्तानी प्लेटफर्म खल्ती (आइएमई खल्ती लिमिटेड) ले वालेटमा रहेको रकममा ब्याज दिने सुविधा सुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा सञ्चालनमा ल्याइएको यो सेवा अन्तर्गत प्रयोगकर्ताले वालेटमा रहेको ब्यालेन्समा प्रत्यक्ष ब्याज पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रयोगकर्ताले वालेटमा रहेको रकममा वार्षिक २.७५ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन् । उक्त ब्याज दैनिक रूपमा गणना गरिने र मासिक रूपमा स्वतः वालेटमै जम्मा हुने व्यवस्था गरिएको छ । ब्याजदर भने बैंकको मानक दरअनुसार समय–समयमा परिवर्तन हुन सक्ने जनाइएको छ ।

‘सुपर वालेट’ नाम दिइएको यो सुविधा कुनै पनि बैंकमा धाउनुपर्ने झन्झट बिना खल्ती एपमार्फत नै सक्रिय गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

उनले खल्तीलाई केवल भुक्तानी माध्यममा सीमित नराखी बचतको विकल्पका रूपमा विकास गर्न यो सेवा सुरु गरिएको उल्लेख गरे । यसअघि खल्तीसँग मर्ज हुनुअघि आइएमई पेले पनि यस्तै ब्याज सुविधा सञ्चालन गर्दै आएको थियो ।

यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताको अकाउन्ट केवाईसी भेरिफाइ भएको हुनुपर्नेछ । साथै कम्तीमा १० वटा सफल कारोबार सम्पन्न गरेको वा वालेटमा १ हजार रुपैयाँ ‘ओभरनाइट ब्यालेन्स’ कायम गरेको हुनुपर्ने सर्त राखिएको छ ।

कम्पनीका अनुसार यो सुविधा व्यक्तिगत खाताका लागि मात्र उपलब्ध हुनेछ । मर्चेन्ट तथा पीओएस खाताले भने यो सुविधा पाउने छैनन् ।

सीईओ रेग्मीले भने, ‘नेपालको ठूलो जनसंख्या अझै पनि औपचारिक बैंकिङ प्रणालीभन्दा बाहिर छ । सुपर वालेटमार्फत विद्यार्थी, किसान, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बचतको संस्कार र वित्तीय अनुशासनमा जोड्न सहयोग पुग्ने विश्वास गरेका छौं ।’

यसअघि यो सुविधा साविकको आइएमई पेबाट माइग्रेट भएका सीमित प्रयोगकर्ताका लागि उपलब्ध गराइएकोमा अब खल्तीका सबै योग्य प्रयोगकर्ताले प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह ले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म, कहाँ हुँदै ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पहिलो महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

पार्टी सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । तर बैठकले असार ७ देखि ९ गतेसम्म महाधिवेशन आयोजना गर्ने निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिए ।

महाधिवेशनलगायत विविध विषयमा छलफल गर्न रास्वपाले आज केन्द्रीय समिति बैठक बोलाएको थियो ।

यसअघि रास्वपाले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

इन्भेष्टमेण्ट मेगा बैंकका सिईओ पाण्डे पक्राउ

काठमाडौं। सरकारको मातहतमा आएको स्मार्ट टेलिकमको सम्पत्ति लिलामी गरेको आरोपमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख एआईजी डा. मनोज केसीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका हुन् ।

अनुसन्धानका क्रममा उक्त बैंकले सरकारले टेकओभर गरेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई लिलाम गरेको खुलेको छ ।

यस विषयमा अनुसन्धानको माग गर्दै चार्टर्ड एकाउण्टेण्ट (सिए) भेषराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

मुद्दाको अनुसन्धानका क्रममा बिनाधितो ४ अर्ब रुपैयाँभन्दा बढी ऋण प्रवाह गर्ने कार्यमा प्राइम बैंकको समेत मिलेमतो देखिएको सिआईबी स्रोतले जनाएको छ ।

स्कटल्याण्डसँग नेपाल २ रनले पराजित

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली स्कटल्याण्डसँग २ रनले पराजित भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टोली ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो।

स्कटल्याण्डका लागि जर्ज मुन्सीले सर्वाधिक ७५ रन बनाए भने फिन्ले एमसीक्रेथले ३५, माइकल इंगलिसले ३४, मार्क वाटले ३४ तथा माइकल लिस्कले २९ रनको योगदान दिए।

नेपालका लागि सन्दीप लामिछाने ले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए। करन केसी र नन्दन यादवले समान २-२ विकेट लिए।

वर्षाका कारण डिएलएस मेथडअनुसार नेपालले ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको थियो। तर नेपाल निर्धारित ओभरमा ७ विकेट गुमाएर २१८ रनमा सीमित भयो।

नेपालका लागि गुलशन झा ले विस्फोटक ब्याटिङ गर्दै ३५ बलमा ६१ रन बनाए। दीपेन्द्र सिंह ऐरी ले ५५ रन तथा कप्तान रोहित पौडेल ले ३२ रनको योगदान दिए।

स्कटल्याण्डका लागि ब्राड कर्रीले ३ विकेट लिए भने मार्क वाटले २ विकेट हात पारे। ओलिभर डेभिडसन र ज्याक जार्भिसले समान १-१ विकेट लिए।

अन्तिम ओभरसम्म पुगेको प्रतिस्पर्धात्मक खेलमा नेपाल जित नजिक पुगेर पनि २ रनले रोकिएको हो।

विश्व नर्स दिवस : नेपालमा नर्स र नर्सिङ पेशा

काठमाडौं। आज मे १२ तारिख अर्थात् विश्व नर्स दिवस। नर्सिङ पेसाको इतिहासमा फर्केर हेर्ने हो भने,१९औँ शताब्दीको प्रारम्भिक समयमा नर्सिङ पेसालाई सम्मानित पेसाका रूपमा हेरिँदैनथ्यो। विशेषगरी युरोपेली समाजमा धनी तथा अभिजात्य परिवारका महिलाहरू नर्सिङ क्षेत्रमा संलग्न हुनु सामाजिक रूपमा उपयुक्त मानिँदैन थियो।

त्यही समयमा बेलायतमा फैलिएको भोकमरी, रोग र कुपोषणले हजारौँ मानिस पीडित बनेका थिए। मानव पीडाको त्यो अवस्था देखेर फ्लोरेन्स नाइटेङ्गल गहिरो रूपमा प्रभावित भइन्। उनी बिरामी, गरिब, असहाय र पीडित मानिसहरूको सेवा गर्न चाहन्थिन् र त्य   सका लागि नर्सिङ शिक्षा हासिल गर्ने दृढ इच्छामा थिइन्।

तर तत्कालीन सामाजिक सोचका कारण परिवारले सुरुमा उनलाई नर्सिङ अध्ययन गर्न अनुमति दिएन। त्यसपछि उनले आफैँ नर्सिङसम्बन्धी पुस्तकहरू अध्ययन गर्न थालिन्। राति अबेरसम्म बसेर अध्ययन गर्ने उनको लगाव र सेवाभाव देखेपछि अन्ततः परिवार पनि सहमत भयो। पछि फ्लोरेन्स नाइटेङ्गलले व्यवस्थित नर्सिङ शिक्षाको विकासका लागि आफ्नै नर्सिङ तालिम केन्द्र स्थापना गरिन्। यसलाई आधुनिक नर्सिङ शिक्षाको महत्वपूर्ण सुरुवात मानिन्छ।

सन् १८५४ देखि १८५६ सम्म भएको क्रिमियन वारले फ्लोरेन्स नाइटेङ्गलको योगदानलाई विश्वभर चिनायो। युद्धका क्रममा हजारौँ सैनिक घाइते भएका थिए। अस्पतालहरू अव्यवस्थित थिए भने सरसफाइको अभावका कारण संक्रमण तीव्र रूपमा फैलिरहेको थियो। यही अवस्थामा फ्लोरेन्स आफ्ना ३८ जना सहयोगी नर्सहरूसहित टर्की पुगिन् र घाइते सैनिकहरूको उपचार तथा हेरचाहमा खटिइन्।

रातभर हातमा बत्ती लिएर बिरामी सैनिकहरूको अवस्था बुझ्न वार्ड-वार्ड पुग्ने उनको बानीका कारण सैनिकहरूले उनलाई सम्मानपूर्वक ‘लेडी विथ द ल्याम्प’भन्न थाले। युद्धको कठिन परिस्थितिमा पनि उनले दिनरात नभनी बिरामीहरूको सेवा गरिन्।

त्यतिबेला अस्पतालहरूमा बिरामीको भावना,आत्मसम्मान र मानसिक अवस्थालाई खासै महत्व दिइँदैनथ्यो। सरसफाइको अवस्था पनि कमजोर थियो। फ्लोरेन्स नाइटेङ्गलले भने स्वास्थ्य सेवामा सफाइ, स्वच्छ वातावरण, उचित हेरचाह र बिरामीप्रतिको मानवीय व्यवहारलाई प्राथमिकता दिइन्। उनले अस्पताललाई व्यवस्थित र सफा राख्ने अभ्यास सुरु गरिन् तथा बिरामीलाई केवल उपचारको वस्तु होइन, संवेदनशील मानवका रूपमा हेर्ने अवधारणालाई स्थापित गरिन्।

यसरी फ्लोरेन्स नाइटेङ्गलले नर्सिङलाई केवल सेवा गर्ने कार्यबाट उठाएर व्यवस्थित, वैज्ञानिक र मानवीय पेसाका रूपमा विकास गरिन्। आधुनिक नर्सिङको आधार निर्माण, अस्पताल व्यवस्थापन सुधार र बिरामीको सम्मानलाई केन्द्रमा राख्ने अवधारणाका कारण आज पनि उनलाई आधुनिक नर्सिङकी जन्मदाता मानिन्छ। यद्यपि नेपालमा नर्सिङ पेसा पछिल्ला दुई दशकमा तीव्र रूपमा विस्तार भएको स्वास्थ्य क्षेत्रमध्ये एक हो। 

स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड मानिने यो पेसाले अस्पताल, सामुदायिक स्वास्थ्य, मातृ तथा शिशु स्वास्थ्य, आपत्कालीन सेवा, शिक्षण, अनुसन्धान र व्यवस्थापनलगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। तर उपलब्ध तथ्यांक र वर्तमान अवस्थाको समीक्षा गर्दा नर्सिङ क्षेत्र अवसर, असन्तुलन र संरचनागत संकटको बीचमा उभिएको देखिन्छ। एकातिर देश तथा विदेशमा नर्सहरूको माग निरन्तर बढिरहेको छ। भने अर्कोतर्फ न्यून पारिश्रमिक, कार्यबोझ, व्यावसायिक असुरक्षा, मानसिक दबाब र तीव्र विदेश पलायनले नेपालको स्वास्थ्य प्रणालीलाई दीर्घकालीन संकटतर्फ धकेल्ने संकेत देखिएका छन्।

नेपाल नर्सिङ काउन्सिलका अनुसार सन् २०२६ सम्म नेपालमा दर्ता भएका नर्स तथा मिडवाइफको संख्या करिब १ लाख २८ हजार ८ सय ४० पुगेको छ। यसमध्ये ८८ हजार २ सय ३२ जना रजिस्टर्ड नर्स तथा ३७ हजार ६ सय १ जना एएनएम रहेका छन्। यी तथ्यांकले नर्सिङ शिक्षातर्फ आकर्षण बढ्दो रहेको देखाउँछन्। पछिल्ला वर्षहरूमा देशभर नर्सिङ कलेज तथा स्वास्थ्य शिक्षण संस्थाको संख्या बढेसँगै नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरूको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ।

तर दर्ता भएका सबै नर्स स्वास्थ्य क्षेत्रमा सक्रिय छैनन्। विभिन्न अध्ययन तथा सरकारी अनुमानअनुसार हाल नेपालमा करिब ५० हजार ५ सय नर्स मात्र सक्रिय रूपमा कार्यरत छन्। अर्थात्, दर्ता भएका ठूलो संख्याका नर्सहरू बेरोजगार, पेशा परिवर्तन वा विदेश पलायनको अवस्थामा रहेको संकेत देखिन्छ। यसले नर्सिङ शिक्षा र श्रम बजारबीचको असन्तुलनलाई देखाउँछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपाललाई सन् २०३० सम्म कम्तीमा ८१ हजार नर्स आवश्यक पर्नेछ। तर वर्तमान अवस्थामा देशमा करिब १५ हजार नर्स अभाव रहेको बताइन्छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा यो समस्या अझ गम्भीर छ। धेरै स्वास्थ्य संस्था पर्याप्त नर्सबिना सञ्चालन भइरहेका छन्।  भने कतिपय स्थानीय तहमा दक्ष नर्सको अभावकै कारण आधारभूत स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ।

नेपालमा नर्स र जनसंख्याको अनुपात प्रति १ हजार जनसंख्यामा २.२ जना मात्र रहेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने प्रति १ हजार जनसंख्यामा कम्तीमा ४ जना नर्स हुनुपर्ने मापदण्ड निर्धारण गरेको छ। यसको अर्थ नेपाल अझै पनि अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै तल रहेको छ। जनशक्ति कम हुँदा एउटै नर्सले धेरै बिरामीको जिम्मेवारी लिनुपर्ने अवस्था सिर्जना हुन्छ, जसले सेवा गुणस्तरमा प्रत्यक्ष असर पार्छ।

विश्व स्वास्थ्य संगठनको २०२५ प्रतिवेदनअनुसार विश्वभर नर्सहरूको संख्या सन् २०१८ मा २७.९ मिलियनबाट बढेर २०२३ मा २९.८ मिलियन पुगेको छ। कोरोना महामारीपछि विश्वव्यापी रूपमा स्वास्थ्य क्षेत्रमा लगानी बढेसँगै नर्सहरूको माग पनि बढेको देखिन्छ। तर यही विश्वव्यापी माग नेपालजस्ता विकासोन्मुख मुलुकका लागि चुनौती बनेको छ, किनकि दक्ष जनशक्ति धनी मुलुकतर्फ आकर्षित भइरहेका छन्।

डब्ल्यूएचओका अनुसार विश्वका करिब ८५ प्रतिशत नर्स महिला छन्। नेपालमा पनि नर्सिङ क्षेत्र महिलाको प्रमुख सहभागिता रहेको पेशाका रूपमा परिचित छ। तर महिलाको उच्च सहभागिताका बाबजुद नर्सिङ पेसाले अझै पर्याप्त सामाजिक र संस्थागत सम्मान प्राप्त गर्न सकेको छैन। कार्यस्थलमा लैंगिक विभेद, असुरक्षा, मानसिक दबाब, दुर्व्यवहार र सामाजिक पूर्वाग्रहजस्ता समस्या अझै विद्यमान छन्। नर्सहरूलाई ‘सहायक’ भूमिकामा सीमित गरेर हेर्ने प्रवृत्ति पनि पूर्ण रूपमा अन्त्य भएको छैन।

नेपालमा नर्सिङ क्षेत्रको सबैभन्दा गम्भीर समस्यामध्ये एक ‘ब्रेन ड्रेन’ अर्थात् जनशक्ति पलायन हो। सम्बन्धित निकायका तथ्यांकअनुसार सन् २००२ देखि मार्च २०२५ सम्म करिब ४५ हजार ४ सय नेपाली नर्सहरूले विदेश जान ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिएका छन्। यो संख्या नेपालको कुल सक्रिय नर्स जनशक्तिसँग तुलना गर्दा अत्यन्त ठूलो मानिन्छ।

अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, जापान, डेनमार्क र यूएईजस्ता मुलुकमा नेपाली नर्सहरूको माग बढ्दो छ। ती देशहरूले राम्रो तलब, सुरक्षित कार्य वातावरण, आधुनिक प्रविधि, करियर विकास र स्थायी बसोबासको अवसर उपलब्ध गराइरहेका छन्। यसको विपरीत नेपालमा न्यून तलब, असुरक्षित कार्य वातावरण र सीमित अवसरका कारण धेरै नर्स विदेश जान बाध्य भइरहेको विश्लेषण गरिन्छ।

पारिश्रमिकको अवस्था नर्सिङ क्षेत्रको अर्को गम्भीर चुनौती हो। विभिन्न अध्ययन र नर्सहरूको अनुभवअनुसार ८ देखि १० लाख रुपैयाँ खर्च गरेर अध्ययन पूरा गरेका कतिपय नर्सहरूले मासिक १५ देखि १८ हजार रुपैयाँमै काम गर्नुपरेको अवस्था छ। चार-पाँच वर्ष अनुभव भएका नर्सहरूले समेत न्यून तलबमा काम गर्नुपर्ने बाध्यता रहेको बताइन्छ।

यद्यपि पछिल्ला वर्षहरूमा केही सुधारका प्रयास भएका छन्। केही ठूला अस्पतालहरूले सरकारी पाँचौँ तह बराबर न्यूनतम तलब अर्थात् ३४ हजार ७ सय ३० रुपैयाँ उपलब्ध गराउने सहमति गरेका छन्। निजी तथा सामुदायिक अस्पतालहरूले पनि त्यसको ८० प्रतिशत उपलब्ध गराउनुपर्ने प्रावधान बनाइएको छ। तर अधिकांश संस्थामा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। कतिपय नर्सहरूले अतिरिक्त ड्युटी, रात्रीकालीन सेवा र जोखिमपूर्ण काम गरे पनि पर्याप्त सुविधा नपाएको गुनासो गर्दै आएका छन्।

कार्यबोझ पनि उत्तिकै गम्भीर समस्या बनेको छ। विभिन्न प्रतिवेदनअनुसार नेपालमा हाल करिब ६४ हजार स्वास्थ्यकर्मी अभाव रहेको छ। जनशक्ति कम हुँदा एउटै नर्सले क्षमताभन्दा दोब्बर वा तेब्बर बिरामीको जिम्मेवारी लिनुपर्ने अवस्था छ। विशेषगरी इमर्जेन्सी, आइसियू, सघन उपचार कक्ष, शल्यक्रिया कक्ष तथा मातृशिशु सेवामा कार्यरत नर्सहरू अत्यधिक मानसिक तथा शारीरिक दबाबमा काम गरिरहेका छन्।

यसले ‘बर्नआउट’, मानसिक थकान, अनिद्रा, तनाव तथा पेशागत असन्तुष्टि बढाएको विभिन्न अध्ययनहरूले देखाएका छन्। बिरामीको मृत्यु, आफन्तको आक्रोश, लामो ड्युटी र भावनात्मक दबाबका कारण नर्सहरूको मानसिक स्वास्थ्य पनि प्रभावित हुने गरेको छ। तर स्वास्थ्य संस्थाहरूमा नर्सहरूको मनोसामाजिक स्वास्थ्य सहयोगका कार्यक्रम अत्यन्त सीमित छन्।

प्राविधिक चुनौती पनि अर्को महत्वपूर्ण पक्ष हो। स्वास्थ्य क्षेत्रमा डिजिटल प्रविधि, इलेक्ट्रोनिक मेडिकल रेकर्ड, भेन्टिलेटर, मोनिटरिङ सिस्टम तथा आधुनिक उपकरणहरूको प्रयोग बढिरहेको भए पनि धेरै नर्सहरूले पर्याप्त तालिमको अवसर पाउन सकेका छैनन्। विशेषगरी ग्रामीण तथा स्रोतसाधन कम भएका अस्पतालहरूमा दक्षता अभिवृद्धि तालिमको अभाव देखिन्छ।

यद्यपि अवसरका पक्ष पनि उल्लेखनीय छन्। नेपालमा आइसियू, कार्डियाक केयर, मानसिक स्वास्थ्य, जेरियाट्रिक, डायलाइसिस, पुनर्स्थापना सेवा, सामुदायिक स्वास्थ्य, शिक्षण तथा स्वास्थ्य व्यवस्थापन क्षेत्रमा दक्ष नर्सहरूको माग निरन्तर बढिरहेको छ। विशेषज्ञ नर्स, प्रशिक्षक, अनुसन्धानकर्ता तथा स्वास्थ्य प्रशासकका रूपमा करियर विकास गर्ने सम्भावना पनि विस्तार हुँदै गएको छ।

कोरोना महामारीपछि नर्सिङ पेसाप्रतिको विश्वव्यापी सम्मान पनि उल्लेखनीय रूपमा बढेको देखिन्छ। महामारीका बेला अग्रपंक्तिमा रहेर काम गरेका नर्सहरूको भूमिकाले स्वास्थ्य प्रणालीमा उनीहरूको महत्वलाई थप स्पष्ट बनाएको थियो। त्यसपछि विश्वका धेरै मुलुकहरूले नर्सिङ शिक्षा, नेतृत्व विकास तथा स्वास्थ्य जनशक्ति विस्तारमा लगानी बढाएका छन्।

नेपालमा पनि नर्सिङ क्षेत्रलाई स्वास्थ्य नीतिको केन्द्रमा राख्नुपर्ने आवश्यकता झन् स्पष्ट बन्दै गएको छ। केवल नर्स उत्पादन बढाएर मात्र समस्या समाधान हुने देखिँदैन। दक्ष जनशक्ति टिकाइराख्न सम्मानजनक पारिश्रमिक, सुरक्षित कार्यस्थल, स्पष्ट करियर मार्ग, मानसिक स्वास्थ्य सहयोग, सीप विकास तालिम तथा नेतृत्व तहमा सहभागिता सुनिश्चित गर्न आवश्यक छ।

तथ्यांकहरूले स्पष्ट देखाउँछन्, नर्सिङ क्षेत्र नेपालका लागि अवसरको विशाल आधार हो। तर व्यवस्थापन कमजोर हुँदा यही क्षेत्र संकटको स्रोत पनि बन्न सक्छ। 

यदि अहिलेको जनशक्ति पलायन, न्यून पारिश्रमिक र असुरक्षाको अवस्था सुधार गर्न सकिएन भने आगामी वर्षहरूमा नेपालको स्वास्थ्य प्रणालीले अझ गम्भीर जनशक्ति संकट सामना गर्नुपर्ने जोखिम देखिन्छ।

कक्षा १२को प्रश्नपत्र सार्वजनिक प्रकरणमा दुई जना पक्राउ

काठमाडौं । कक्षा १२ को परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले सुर्खेतको वीरेन्द्रनगर–८ घर भई हाल काठमाडौं–३२ सुविधानगर बस्ने ३७ वर्षीय निराजन शाही र धादिङ निलकण्ठ–३ घर भई बूढानीलकण्ठ–१० कपन बस्ने ३० वर्षीय प्रेमकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरूले ह्वाट्सएप र फेसबुक मेसेन्जर (फेसबुक मेसेन्जर) लगायतका सामाजिक सञ्जालमा समूह बनाएर उत्तरसहित प्रश्नपत्र बाहिर ल्याई गोपनीयता भंग गरेको आरोप छ ।

सोमबार चाबहिलबाट पक्राउ परेका उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद थप अनुमति दिएको छ । साइबर ब्युरोले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

अर्घाखाँची बस दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो, २६ जना घाइते

काठमाडौँ । अर्घाखाँचीमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ भने २६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलक शर्मा का अनुसार पाणिनी गाउँपालिका–८ स्थित कोल्डाँडा भित्री सडकखण्डमा भएको दुर्घटनामा गम्भीर घाइते भएका चार जनाको उपचारका क्रममा मृत्यु भएको हो।

पर्वतको मोदी गाउँपालिकाबाट सुपादेउराली दर्शनका लागि रिजर्भमा आएको ध १ ख ५०४ नम्बरको बस मंगलबार दिउँसो फर्किने क्रममा दुर्घटनामा परेको थियो। सुपादेउरालीबाट पर्वततर्फ जाँदै गरेको बस सडकबाट करिब १२० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीले घाइतेहरूको उद्धार गरेका थिए। घाइतेमध्ये केहीको पाल्पास्थित तानसेन मिसन अस्पताल तथा अन्यको अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

बालेनको शासनशैली कतातिर ? (टिप्पणी)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अमर्यादित व्यवहार बारम्बार देखिँदै छ । जनताले अभूतपूर्व विश्‍वास गरेकाे आडमा उनी असंसदीय हर्कत गर्न उद्धत देखिन्छन् । साेमबार त उधेकलाग्दै देखियाे । राष्ट्रपति रामचन्द्र पाैडेलले बालेन सरकारकै आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा अचानक उठेर संसद हल छाडेर निस्किए ।याे दृश्यले धेरैलाई स्तब्ध बनाएको छ। मङ्‍गलबार विपक्षी दलहरुले उनकाे यस्ताे हर्ककाे आलाेचना गरे ।

राष्ट्रपतिमार्फत प्रस्तुत भएकाे नीति तथा कार्यक्रम कुनै व्यक्तिको व्यक्तिगत भाषण होइन, त्याे देश विकासकाे मार्गचित्र हाे । सरकारको एक वर्षे दृष्टि हाे । प्राथमिकता र उत्तरदायित्वकाे दस्तावेज हाे । तर, प्रधानमन्त्री बालेनको व्यवहारले नीति कार्यक्रम सार्वजनिक कार्यक्रमलाज्ञ नै खल्लाे बनायाे ।

राप्रपाको ओरालो यात्राको जिम्मेवार को ?

नेपालमा पुराना सबै राजनीतिक पार्टी अहिले संकटको स्थितिमा छन्। राप्रपा पनि आफ्नो राजनीतिक इतिहासको कठिन मोडमा छ ।  नेतृत्वको कार्यशैली, अनुशासनको कमी र विधिअनुसार पार्टी नचल्नु यो संकटका प्रमुख कारण हुन्। जनमतका हिसाबले ०७० को दशकमा कमजोर स्थितिमा पुगेको राप्रपालाई अहिलेको नेतृत्वले नै यही बीचमा पुनर्जीवन दिने इमानदार प्रयत्न पनि गरेकै हो।  तर, गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि भएको प्रतिनिधिसभा निर्वाचनबाट पार्टी आन्दोलन फेरि संकटमा परेको देखिन्छ। 

यही सन्दर्भमा जेठ १ गते बस्ने भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई लिएर पार्टीभित्र र बाहिर व्यापक चासो देखिएको छ। विशेषगरी, जेठ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय कार्यसमितिको निर्णय किन कार्यान्वयन भएन, कसले त्यसलाई अवज्ञा गर्‍यो र पार्टी किन निर्णय कार्यान्वयन गर्न असफल बन्यो भन्ने विषयमा गम्भीर समीक्षा हुने अपेक्षा कार्यकर्ताहरूले गरेका छन्। 

यदि पार्टीकै सर्वोच्च वैधानिक निकायको निर्णय कार्यान्वयन हुँदैन भने राप्रपा कुन दिशातर्फ अघि बढिरहेको छ ? अहिले पार्टीपंक्तिमा प्रश्न उठिरहेको छ। 

राप्रपाको केन्द्रीय अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिले गरेको निर्णय संस्थागत र वैधानिक मानिन्छ। तर, त्यही निर्णय कार्यान्वयन नगर्ने, स्थगित गर्ने वा बेवास्ता गर्ने प्रवृत्ति बढ्दै जाँदा पार्टीको संगठनात्मक विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ। 

यदि पार्टीभित्र वैधानिक निर्णयलाई चुनौती दिन, रोकेर राख्न वा अवज्ञा गर्न छुट हुने हो भने यसको प्रत्यक्ष असर पार्टीको अनुशासन, नेतृत्व र संस्थागत संरचनामाथि पर्ने निश्चित छ। त्यसैले कार्यकर्ताहरू अहिले कार्यसम्पादन समितिको बैठकबाट केवल औपचारिक छलफल होइन, स्पष्ट निर्णय र जिम्मेवारी निर्धारणको अपेक्षा गरिरहेका छन्।

राप्रपा आफूलाई प्रजातान्त्रिक पार्टीका रूपमा प्रस्तुत गर्दै आएको छ। तर, व्यवहारमा विधि र विधानभन्दा व्यक्तिकेन्द्रित निर्णय, गुटीय स्वार्थ र कारबाहीमुखी राजनीति हाबी भएको आरोप पनि खण्डित गर्न सकिने स्थिति छैन । धेरै कार्यकर्ताहरूको बुझाइमा पार्टी अहिले ‘नाममा प्रजातान्त्रिक, व्यवहारमा अपारदर्शी’ बन्ने खतरा बढ्दै गएको छ। विधान मिच्ने, निर्णय कार्यान्वयन नगर्ने, असहमतिलाई कारबाहीमार्फत दबाउने र संगठनात्मक संवाद कमजोर बनाउने प्रवृत्तिले पार्टीको आधार कमजोर बन्न सक्छ। 

पछिल्लो समय राप्रपाभित्र पंचायती पृष्ठभूमिको बहस पनि चर्किएको छ। केही नेताहरूले पार्टीले आफूलाई नयाँ पुस्तासँग जोड्न पुरानो राजनीतिक छायाबाट बाहिर आउनुपर्ने बताएका छन्। तर, त्यसविपरीत धारणा राख्नेहरू भन्छन्, ‘पंचायत पृष्ठभूमि हटाउने नाममा राजा महेन्द्र र राजा वीरेन्द्रको सम्पूर्ण योगदानलाई अस्वीकार गर्न खोज्नु गलत हुनेछ।’ अझ रोचक कुरा के छ भने वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं पंचायतकालीन राजनीतिक संरचनाबाट उदाएका नेता हुन्। उनी विद्यार्थी मण्डलमा सक्रिय थिए र पंचायतकालमै प्रधानपंच पदका लागि चुनाव लडेका थिए। त्यसैले ‘पंचायत पृष्ठभूमि’ को बहसलाई केवल राजनीतिक नारा नभई वस्तुगत अध्ययनका आधारमा हेर्नुपर्ने आवश्यकता हाम्रा अगाडि छ ।

गत संसदीय निर्वाचनमा राप्रपाका झण्डै ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भएको तथ्यले पनि पार्टीभित्र गम्भीर आत्मसमीक्षाको आवश्यकता देखाएको छ। पार्टीले एक समय १९ प्रतिशतसम्म मत प्राप्त गरेको इतिहास बोकेको भए पनि अहिले ६ प्रतिशत कटाउन संघर्ष गर्नुपर्ने अवस्थामा किन पुग्यो भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बेला आएको छ। ‘सबै जिम्मेवार छौं’ भन्ने अमूर्त निष्कर्षले अब पार्टीलाई जोगाउन सक्दैन । कार्यकर्ताहरू स्पष्ट रूपमा नेतृत्व तहको रणनीतिक असफलता, संगठनात्मक कमजोरी र निर्णय प्रक्रियाको मूल्याङ्कन हुनुपर्ने माग गरिरहेका छन्।

पार्टीभित्र अर्को चर्को बहस ‘नेताले वडा जित्न सक्छन् कि सक्दैनन् ?’ भन्ने विषयमा केन्द्रित छ र, यो स्वाभाविक पनि छ।  स्थानीय तहको आधार कमजोर हुँदै जाँदा केन्द्रीय नेतृत्वको लोकप्रियता र प्रभावमाथि नै प्रश्न उठ्नुलाई सामान्यीकरण गर्न मिल्दैन । यदि कुनै नेता आफ्नै वडामा जनमत जित्न सक्दैन भने उसले राष्ट्रिय राजनीति कसरी नेतृत्व गर्छ ? त्यसैले कार्यसम्पादन समितिले एउटा कार्यदल गठन गरेर कुन नेता वा पदाधिकारीले आफ्नो आधार क्षेत्रमा जित हासिल गरेका छन्, को पराजित भएका छन् र किन संगठन कमजोर भयो भन्नेबारे वैधानिक प्रतिवेदन तयार गर्नुपर्छ ।

प्रदेशस्तरीय समीक्षा बैठकहरूबाट आएको सन्देश पनि पार्टी नेतृत्वका लागि सुखद छैन। विभिन्न प्रदेशमा भएका छलफलहरूमा सहभागी अधिकांश कार्यकर्ताहरूले पार्टी सञ्चालन अव्यवस्थित भएको, विधान उल्लंघन बढेको, निर्णय कार्यान्वयन कमजोर भएको र निरन्तर कारबाहीमुखी संस्कृति विकसित हुँदै गएको गुनासो गरेका छन्। अझ, धेरै समीक्षा बैठकमा उम्मेदवार र प्रभावशाली नेताहरू नै अनुपस्थित भएको चर्चा पनि पार्टीभित्र भइरहेको छ। यसले नेतृत्व र कार्यकर्ताबीच दूरी बढ्दै गएको संकेत गर्छ।

राप्रपाको अहिलेको संकट केवल चुनावी हारको मात्र संकट होइन, यो नेतृत्वको विश्वसनीयता र संस्थागत क्षमताको संकट पनि हो। पार्टीभित्र बारम्बार एउटै समूह शक्तिशाली बन्ने, आलोचकहरू पाखा लाग्ने, बागी प्रवृत्तिका व्यक्तिहरू नै अवसर पाउने र अनुशासनको मापदण्ड चयनात्मक रूपमा लागू हुने अवस्था छ। यस्तो प्रवृत्तिले संगठनभित्र न्याय र नैतिकताको आधार कमजोर बनाउने खतरा बढेको कार्यकर्ताहरू बताउँछन्।

अहिलेको कार्यसम्पादन समितिको बैठकलाई सामान्य औपचारिक बैठकका रूपमा लिनु हुँदैन । बैठकले पार्टीलाई यहाँसम्म ल्याइपुर्‍याउने निर्णयहरूको समीक्षा गर्नुपर्छ। नेतृत्वले आत्ममूल्याङ्कन गर्नुपर्छ। वैधानिक निर्णय कार्यान्वयन नहुने प्रवृत्तिमाथि कठोर प्रश्न उठ्नुपर्छ। गलत सूचना दिने, निर्णय लुकाउने, विधान मिच्ने वा संस्थागत प्रक्रियालाई कमजोर बनाउने जो-कोहीमाथि निष्पक्ष छानबिन हुनुपर्छ ।

बैठकको मिति फेरि फेसबुक पोस्टमार्फत सारिने काम नहोस्। पछिल्लो समय पार्टीका औपचारिक निर्णयहरू सामाजिक सञ्जालमार्फत घोषणा हुने तर कार्यान्वयन नहुने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसप्रति असन्तुष्टि देखिन्छ । पार्टी सञ्चालन संस्थागत प्रक्रियाबाट हुने हो कि अनौपचारिक सर्कुलर र फेसबुक पोस्टबाट ।

राप्रपा अहिले आफ्नो राजनीतिक इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। यदि पार्टीले विधि, विधान, संस्थागत अनुशासन र राजनीतिक स्पष्टताको बाटो समात्न सकेन भने यसको संगठनात्मक भविष्य झन् संकटग्रस्त बन्न सक्छ। कार्यसम्पादन समितिको बैठकले आत्मसमीक्षा, सुधार र स्पष्ट मार्गचित्र दिन सके मात्र कार्यकर्तामा नयाँ आशा पैदा हुनेछ। अन्यथा, बैठक केवल औपचारिकता र गुटीय शक्ति प्रदर्शनमा सीमित भयो भने पार्टीभित्रको असन्तुष्टि झन् गहिरिने खतरा छ।

‘मकै बारी दराम दराम’ गीतकी गायिका सुष्माले १४ वर्षपछि पास गरिन् एसइई

काठमाडौं । ‘मकै बारी दराम दराम’ गीतबाट चर्चामा आएकी लोकदोहोरी गायिका सुष्मा शाही ठकुरी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सफल भएकी छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी उनले ३.२५ जीपीएसहित ए ग्रेड प्राप्त गर्दै परीक्षा उत्तीर्ण गरेकी हुन् । सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै उनले यो सफलता आफ्नो कल्पनाभन्दा बाहिरको भएको उल्लेख गरेकी छन् ।

काठमाडौँको चाबहिलस्थित सगरमाथा स्कुलमा अध्ययन गरेकी सुष्माले कपनको दीक्षालय स्कुलबाट परीक्षा दिएकी थिइन् । उनले १४ वर्षपछि पुनः पढाइमा फर्किएर एसइई उत्तीर्ण गरेकी हुन् ।

२०७९ सालमै एसएलसी दिनुपर्ने भए पनि सानै उमेरमा भागी विवाह गरेका कारण पढाइलाई निरन्तरता दिन नसकेको उनले बताएकी छन् । अहिले भने उनले पुनः अध्ययनलाई अगाडि बढाइरहेकी छन् ।

पाकिस्तान-अफगानिस्तान सीमामा तनाव : तीन महिनामै सयौँ नागरिकको मृत्यु

काठमाडौं । युनाइटेड नेसन्स असिस्टेन्स मिसन इन अफगानिस्तान (युएनएएमए) ले पाकिस्तान र अफगानिस्तानबीच बढ्दो सीमापार सैन्य तनावका कारण चालु वर्षको पहिलो तीन महिनामै ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको जनाएको छ ।

युएनएएमएका अनुसार जनवरी १ देखि मार्च ३१ सम्म सरकारी सुरक्षा निकाय र पाकिस्तानी सेनाबीच भएका झडपमा कम्तीमा ३७२ अफगान नागरिकको मृत्यु भएको छ भने ३९७ जना घाइते भएका छन्।

प्रतिवेदनअनुसार मृत्यु हुनेमध्ये ३१३ पुरुष, ४६ बालबालिका र १३ महिला रहेका छन् । हवाई आक्रमण तथा सीमापार गोलीबारीलाई मुख्य कारणका रूपमा उल्लेख गरिएको छ । साथै एक मानवअधिकारकर्मीको पनि मृत्यु भएको जनाइएको छ ।

सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध क्रमशः चिसिँदै गएको थियो । पछिल्लो समय सीमाक्षेत्रमा तनाव झन् बढेको देखिएको छ ।

प्रतिवेदनमा गत फेब्रुअरीमा पाकिस्तानका रक्षा मन्त्रीले सार्वजनिक रूपमा सैन्य द्वन्द्वको चेतावनी दिएको उल्लेख गरिएको छ । पाकिस्तानले अफगान तालिबानमाथि आतंकवादी समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने अफगान पक्षले पनि पाकिस्तानले आफ्ना विरोधी समूहलाई संरक्षण दिएको दाबी गर्दै आएको छ ।

युएनएएमाले सार्वजनिक गरेको तथ्यांक सन् २०११ यता अभिलेख राख्न थालेपछिकै सबैभन्दा उच्च नागरिक क्षति भएको जनाएको छ।

पाकिस्तानी पक्षले भने सो अवधिमा आफ्ना १३० नागरिक तथा सुरक्षाकर्मी मारिएको जानकारी दिएको छ । इस्लामाबादले सैन्य कारबाही आतंकवादी तथा सैन्य संरचनामा मात्र केन्द्रित रहेको र नागरिक संरचना लक्षित नगरिएको दाबी गरेको छ ।

गत सप्ताहान्तमा भएको झडपमा १५ जनाको मृत्यु भएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमध्ये अधिकांश प्रहरी अधिकारी रहेका थिए ।

राष्ट्रसंघीय प्रतिवेदनले प्रभावित क्षेत्रमा स्वास्थ्य संस्थामा भएको क्षतिको विवरण संकलन गर्न, बेपत्ता व्यक्तिहरूको खोजीमा सहजीकरण गर्न तथा नागरिक बस्ती लक्षित गतिविधिबाट टाढा रहँदै अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

यसैबीच, चीनमा भएको हालैको कूटनीतिक वार्तापछि पाकिस्तान र अफगानिस्तानले तनाव न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएको विवरण पनि सार्वजनिक भएको छ।

महावीर पुन गुनासो- ‘एक्लो माननीय भनेर मलाई हेला नगरियोस्’ (भिडियो)

काठमाडौं । पूर्व शिक्षामन्त्री तथा सांसद महावीर पुन ले प्रतिनिधिसभामा आफूलाई कम समय दिइएको भन्दै सभामुखसमक्ष गुनासो गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले आफूलाई पाँच मिनेट मात्र समय छुट्याइएकोप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले सभामुखसँग बोल्ने समयको सीमा पुनर्विचार गर्न आग्रह गर्दै भने, ‘एक्लो माननीय भनेर मलाई हेला नगरियोस् । अरूलाई १०–१५ मिनेट दिँदा मलाई पाँच मिनेटमा सीमित नगरियोस् । तपाईंहरूको पार्टी सदस्यभन्दा मेरा देश-विदेशमा समर्थक धेरै छन् ।’

पुनले स्वतन्त्र सांसद भएकै कारण आफूलाई कम प्राथमिकता दिन नहुने धारणा पनि राखे ।

‘८१ को नीति तथा कार्यक्रम ८३ मा ज्यूँका त्यूँ सारिएको छ’ : ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम अघिल्लो वर्षकै दस्तावेजको ‘हुबहु प्रतिलिपि’ भएको दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले २०८१ र २०८३ सालका नीति तथा कार्यक्रमका पुस्तक देखाउँदै तुलना गरेका थिए ।

उनले भने, ‘मेरोटा किताब छन्  हातमा दुईव। एउटा २०८३ सालमा हिजो मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्नुभएको नीति तथा कार्यक्रम र अर्को २०८१ सालमा राष्ट्रपति रामचन्द्र पौडेलले नै सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रम । हुबहु एउटै छ ।’

शाहीले २०८१ सालको नीति तथा कार्यक्रममा २१७ बुँदा रहेको र अहिलेको कार्यक्रममा १०० बुँदा मात्रै भए पनि अधिकांश विषयवस्तु उस्तै रहेको दाबी गरे ।

उनले भने, ‘लेख्ने मान्छे त एउटै रहेछ । घर गएर मज्जाले पढ्दा हुन्छ, हुबहु छ । एक-दुई वटा कुरा कहीँकहीँ फरक छन् । तर हामीले चाहेको व्यापक सुधार थियो । नयाँ-नयाँ साथीहरू आएका छन् । पार्टी जोसुकै होस्, अनुहार नयाँ छन् । नीति तथा कार्यक्रममा पनि नयाँपन आउला भन्ने अपेक्षा थियो, तर हुबहु फोटोकपीजस्तो देखियो । केही शब्द त ज्यूँका त्यूँ सारिएको छ ।’

स्वास्थ्य मन्त्री मेहता र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं। स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव बीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्ताका क्रममा नेपाल–भारतबीच सदियौँदेखि रहिआएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विशेषगरी स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध पक्षबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

राजदूत श्रीवास्तवले मन्त्री मेहतालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालसँगको स्वास्थ्य सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री मेहताले पनि नेपालका स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारले दिँदै आएको सहयोग र सद्भावप्रति आभार व्यक्त गरे।

भेटवार्तामा राष्ट्रियस्तरका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्रहरूको स्थापना तथा स्वास्थ्य पूर्वाधार विस्तारका विषयमा विशेष छलफल भएको बताइएको छ।

दुवै पक्षले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा भारत-नेपाल सहकार्यलाई अझ प्रभावकारी, परिणाममुखी र दीर्घकालीन बनाउन सहमति व्यक्त गरेका छन्।

सरकारमा प्रधानमन्त्री छ कि छैन? : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले प्रधानमन्त्रीको संसद्‌मा अनुपस्थितिलाई लिएर सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री नै नभएको जस्तो अवस्था देखिएको टिप्पणी गरे।

‘यो सरकारको प्रधानमन्त्री छ कि छैन ? छ भने उहाँले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ?’ उनले प्रश्न गरे।

सांसद साम्पाङले जनप्रतिनिधिका प्रश्नको जवाफ नदिनु लोकतान्त्रिक अभ्यासविरुद्ध भएको भन्दै यस्तो प्रवृत्तिले सरकार जनताप्रति उत्तरदायी नभएको देखिने बताए।

‘सांसदका प्रश्नको उत्तर नदिनु भनेको जनताको प्रश्नको जवाफ नदिनु हो,’ उनले भने, ‘जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई असक्षम भन्नुपर्छ।’

उनले वर्तमान सरकार जनतासँग डराएर काम गरिरहेको जस्तो देखिएको आरोप पनि लगाए। जनताको जीउधनको सुरक्षा र सीमाको रक्षा गर्न नसक्ने सरकारलाई सफल भन्न नसकिने उनको टिप्पणी थियो।

साम्पाङले सीमावर्ती क्षेत्रमा भइरहेको निर्माण कार्यबारे पनि सरकारको ध्यानाकर्षण गराए। छिमेकी देशले नेपालको सहमति बिना निर्माण गरिरहेको हो वा अनुमति लिएर गरिरहेको हो भन्ने स्पष्ट हुनुपर्ने उनले बताए।

‘महाकालीको तटमा भइरहेको निर्माण नेपाल सरकारको जानकारीमा हो कि होइन ?’ उनले प्रश्न गरे।

उनले अन्त्यमा सरकारको कार्यशैली पारदर्शी, उत्तरदायी र जनमुखी हुनुपर्नेमा जोड दिएका थिए।