`

हरेक १० मिनेटमा एक महिलाको हत्या: राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ । गत वर्ष प्रत्येक १० मिनेटमा विश्वका कुनै न कुनै स्थानमा एक महिलाको उनकै नजिकका व्यक्तिद्वारा हत्या भएको तथ्याङ्क सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले नारीहत्या (फेमिसाइड) विरुद्धको लडाइँमा कुनै स्पष्ट प्रगति नदेखिएको कठोर टिप्पणी गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) र संयुक्त राष्ट्र महिला (युएन वुमेन) ले महिला विरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा जारी गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा करिब ५० हजार महिला तथा बालिकाहरू आफ्ना घनिष्ठ साझेदार वा परिवारका सदस्यकै हातबाट मारिनु परेको थियो ।

प्रतिवेदनले विश्वभर हत्या गरिएका महिलामध्ये करिब ६० प्रतिशतलाई आफ्नै साथी वा अत्यन्तै नजिकका आफन्त—जस्तै बुबा, काका, आमा, दाइ–भाइ—द्वारा ज्यान दिइएको उल्लेख गरेको छ । तुलनात्मक रूपमा, पुरुष हत्या पीडितमध्ये मात्र ११ प्रतिशतको हत्या नजिकका व्यक्तिले गरेका थिए।

एक सय १७ देशबाट सङ्कलित तथ्याङ्कका आधारमा तयार गरिएको उक्त प्रतिवेदनअनुसार दैनिक करिब १३७ महिला अर्थात् प्रत्येक १० मिनेटमा एक जना नारीहत्या अपराधको सिकार बनिरहेका छन् । सन् २०२३ मा सार्वजनिक भएको तथ्याङ्कभन्दा सङ्ख्या केही कम देखिए पनि यो वास्तविक सुधारलाई जनाउने सङ्केत नभएको, बरु फरक–फरक देशबाट उपलब्ध हुने तथ्याङ्कमा देखिने असमानता नै यसको मुख्य कारण भएको प्रतिवेदनले स्पष्ट पारेको छ ।

अध्ययनले चेतावनी दिँदै ‘घर नै महिला तथा बालिकाका लागि सबैभन्दा खतरनाक स्थान बनेको छ’ भन्दै प्रत्येक वर्ष दशौँ हजार महिलाको हत्या हुँदै आए पनि घट्दो प्रवृत्ति नदेखिएको जनाएको छ ।

विश्वका कुनै पनि क्षेत्रमा नारीहत्या शून्य नभएको प्रतिवेदनले बताउँछ । तर अफ्रिकामा गत वर्ष झण्डै २२ हजार महिलाको हत्या भई सबै क्षेत्रभन्दा उच्च सङ्ख्या दर्ता भएको उल्लेख गरिएको छ ।

संयुक्त राष्ट्र महिला नीति डिभिजनकी निर्देशक सारा हेन्ड्रिक्सका गम्भीर चिन्ता व्यक्त गर्दै भने, “नारीहत्या एक्लै घटित हुँदैन । यसअघि नै व्यवहारगत नियन्त्रण, धम्की, दुव्र्यवहार र अनलाइनसँगै अफलाइन दुवै माध्यममा हुने उत्पीडनका रूपहरू देखिन सक्छन्, जसको अन्त्य घातक हिंसामा पुग्न सक्छ ।”

उनका अनुसार प्राविधिक विकाससँगै महिलामाथि हुने हिंसाका केही प्रकार झनै बढेका छन् भने नयाँ प्रकारका डिजिटल अपराध—जस्तै गैर–सहमति तस्बिर साझेदारी, डक्सिङ (व्यक्तिगत विवरण सार्वजनिक गर्ने कृत्य) तथा डिपफेक भिडियो—जस्ता खतरनाक रूपहरू समेत जन्मिएका छन् ।

हेन्ड्रिक्सले भने, “हामीलाई अनलाइन र अफलाइन दुवै क्षेत्रमा महिलामाथि कसरी हिंसा फैलिन्छ भन्ने पूर्ण रूपमा बुझेर त्यसअनुरूप कडा कानूनी कार्यान्वयन आवश्यक छ । अपराधीहरू घातक हिंसामा उत्रनु अघि नै स्पष्ट रूपमा जवाफदेही बनाइनुपर्छ ।”

जिहादी आक्रमणका कारण उत्तरी नाइजेरियामा उच्च भोकमरी : डब्लुएफपी

लागोस(नाइजेरिया) ।   उत्तरी नाइजेरियामा जिहादी आक्रमणका कारण उत्पन्न अस्थिरताको कारण भोकमरी उच्च भएकाले हजारौ नाइजेरियाले अनिकालको सामना गरिरहेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले मंगलबार जनाएको छ ।

उत्तरी नाइजेरियाका करिब ३ करोड ५० लाख मानिसहरूले आगामी सन् २०२६ मा गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्ने अनुमान गरिएको संयुक्त राष्ट्र सङ्घीय एजेन्सीले विज्ञप्ति मार्फत जनाएको छ ।

करिव १६ वर्ष लामो जिहादी विद्रोहको केन्द्रबिन्दु बोर्नो राज्यका करिब १५ हजार मानिसहरु “विनाशकारी भोकमरी“ वा “अनिकालको अवस्थामा पुग्ने अनुमान गर्दै डब्लुएफपीले विज्ञप्ति जारी गरेको छ ।

द्वन्द्वले ४० हजार भन्दा बढी मानिसहरूको ज्यान लिएको छ भने उत्तरपूर्वमा करिब २० लाख अन्य विस्थापित भई छिमेकी देशहरूमा गएको जनाइएको छ ।

नाइजेरियाले उत्तरपूर्वमा बोको हराम र मध्य तथा उत्तरपश्चिममा “डाकु“ गिरोहहरूको नेतृत्वमा हिंसाको सामना गरिरहेको छ, जसले गाउँहरूमा छापा मार्छ, मानिसहरूलाई मार्नुका साथै र फिरौतीका लागि अपहरण गर्दछ ।
गत हप्ता मात्रै नाइजेरियाले तीनवटा सामूहिक अपहरणको सामना गरेको जनाइएको छ ।

नाइजर राज्यमा क्याथोलिक स्कूलका करीव ३०० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरू अपहरण गरिएको थियो, भने केब्बी राज्यमा २५ मुस्लिम हाई स्कूलका छात्राहरुको अपहरण भएको थियो । यसै गरी क्वारा राज्यमा ३८ जना उपासकहरूलाई चर्चबाटै अपहरण गरिएको जनाइएको छ ।

 

करणको आक्रामक ब्याटिङमा काठमाडौंले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा काठमाडौं गोर्खाजका कप्तान करण केसीले आक्रामक ब्याटिङले लुम्बिनीले १५८ रनको लक्ष्य पाएको छ ।

१७ ओभरको चौथो बलमा ७ विकेटको क्षतिमा ११७ रनको अवस्थामा पुगेको थियो । त्यसपछि क्रिजमा गएका करण केसीले ११ बलमा ३४ प्रहार गर्न १ चौका र ४ छक्का प्रहार गरे ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको काठमाण्डूले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको हो ।

इजरायलद्वारा वेस्ट ब्याङ्कबाट ५० जना प्यालेस्टिनी पक्राउ

जेरुसेलम । इजरायली कब्जा बल (आइओएफ)ले मङ्गलबार वेस्ट ब्याङ्कमा व्यापक गिरफ्तारी र छापा अभियान अन्तरगत कम्तिमा ५० जना प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु ए एफ ए) ले रिपोर्ट गरे अनुसार कल्किल्याको पूर्वमा रहेको अजुन सहरमा इजरायली सेनाले २५ जना प्यालेस्टिनीहरूलाई पक्राउ गरी कुटपिट गरेको छ । यसै गरी अरिहा सहर र जबर र ऐन अल–सुल्तान शरणार्थी शिविर बाट १० जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाइएको छ ।

सेनाले बेथलेहेमको गवर्नरेटमा, छ जना प्यालेस्टिनी, जेनिनको दक्षिणमा रहेको मिर्का गाउँमा अन्य छ जना र रामल्ला दक्षिणी नब्लस, जेनिन शिविरमा अन्य तीन जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाइएको छ ।

सोही सन्दर्भमा, सेनाले अल–खलिलको उत्तरमा रहेको बेत उमर सहरका विद्यालय र घरहरूमा आक्रमण गरी दर्जनौँ प्यालेस्टिनीहरूलाई चिसो र वर्षाको मौसममा दुव्र्यवहार गर्दै घन्टौँसम्म बन्दी बनाएको जनाइएको छ ।

इजराली सेनाले वेस्ट ब्याङ्कमा प्यालेस्टिनीहरूलाई आतङ्कित पारी उनीहरूको आवागमनलाई प्रतिबन्धित गर्ने कार्यकर्ताहरूलाई सताउने र कैदीहरूलाई मुक्त गर्नको लागि गिरफ्तारी गरिरहेको जनाइएको छ ।

पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा

गुल्मी। गुल्मीको पर्यटकीय क्षेत्रका रुपमा चिनिने विचित्र गुफा यतिबेला पर्यटकको पर्खाइमा छ । सुन्दर आकर्षक र कलात्मक देखिने उक्त गुफा आन्तरिक एवं बाह्य पर्यटकका लागि मुख्य आकर्षक गन्तव्यस्थल मानिन्छ । धार्मिक एवं पर्यटकीय महत्व बोकेको उक्त गुफा यतिबेला थप आन्तरिक एवं बाह्य पर्यटकको प्रतीक्षामा छ ।

विचित्र गुफा जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा पर्दछ । धुर्कोट गाउँपालिका–५ स्थित वस्तुमा रहेको उक्त गुफा पर्यटकहरूका लागि आफैँमा साँच्चिकै विचित्रको छ ।

विसं २०४५ मा बारीमा मकै खान गएको ढेँडुबाँदरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलोपटक उक्त गुफा पत्ता लगाएका थिए । भण्डारीले आफ्नो बारीमा मकै खान आएको अवस्थामा ढेँडुबाँदरलाई देखेर लखेट्दै जाने क्रममा उक्त ढेँडुबाँदर एकाएक पहरा (चट्टान) को बीचमा रहेको सानो प्वालबाट भित्र पसेको बताइन्छ । पछि स्थानीयको केही समूह राँको बालेर ढेँडुबाँदर पसेको ठाउँ हेर्दै जाँदा  त्यस क्षेत्रमा ठूलो गुफा रहेको पत्ता लगाएको स्थानीय युवराज भण्डारीले बताए ।

गुफा पत्ता लागेपछि विगत लामो सयमदेखि विचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गर्दथ्यो । पछिल्लो समयमा बाह्य क्षेत्रमा समेत विचित्र गुफाको प्रचारप्रसार हुन थालेपछि गुफा हेर्नका बेलाबेलामा विदेशी पर्यटकहरू समेत आवागमन बढ्न थालेको हो ।

विगतको समयमा फाटफुट रुपमा केही विदेशी नागरिक गुफा हेर्नका लागि आउने गरे पनि पछिल्लो समयमा फ्रान्स जर्मनी र बेलायतका नागरिकहरू पर्यटककै रुपमा गुफा हेर्नका लागि आउने गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताए। धेरै विदेशी नागरिकहरू सिर्सेनीमा रहेको अरविन्द्र आश्रममा योग साधनाका लागि आएका अवसरमा एकपटक गुफामा पुगेर फर्कने गरेको अध्यक्ष पोख्रेलले बताए।

विचित्र गुफाको लम्बाइ १८५ मिटर छ भने चौडाइ ३५० मिटर रहेको छ । ठूलो र चौडा भूभागमा फैलिएका गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँचवटा द्वारहरुको प्राकृतिक आकार देख्न सकिन्छ । विचित्र गुफा बाहिरको प्राकृतिक सुन्दरताले गुफाको थप सौन्दर्यता बढाएको छ । गुफामा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई त्यहाँको इतिहास तथा धार्मिक महत्वका बारेमा जानकारी गराउने प्रचलन छ । गुफाको मुख्य ढोकाबाट प्रवेश गरेपछि भित्ताहरूमा देखिने विभिन्न आकृतिहरूले एकपटक सबैको ध्यान केन्द्रित गर्दछ ।

विचित्र गुफाको मुख्य आकर्षण भनेको ‘स्वर्ग जाने बाटो’ हो । यो धार्मिक दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ । स्वर्ग जाने बाटोमा धर्मात्माहरू मात्र भित्र पस्न सक्छन् भन्ने मान्यता छ । स्वर्गजाने बाटो एकदमै साँगुरो छ र त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृश्य हात्तीको भीमकाय शरीर हो । त्यहाँ  प्राकृतिक रुपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रुपमा देख्न सकिन्छ । त्यसदेखि अगाडि कुनै पनि दृश्य नभएको कारण उक्त ठाउँलाई विचित्रताको अन्तिम दृश्यका रुपमा मानिन्छ ।

जुन मानिस उक्त स्वर्ग जाने बाटो भित्र छिर्न सक्छन् उनीहरुले आफूलाई साह्रै भाग्यमानी सम्झने गर्दछन् । गुफाभित्र रहेका विभिन्न जनावरका आकृतिले गुफाको सौन्दर्यतालाई थप शोभा थपिदिएको छ ।

गुफाको पर्यटकन प्रवद्र्धन तथा संरक्षणका लागि स्थानीय पालिका, प्रदेश र सङ्घबाट गरी दुई करोडभन्दा बढी लगानी भइसकेको गाउँपालिका अध्यक्ष पोख्रेलले बताए। सदरमुकाम तम्घासबाट १८ किलोमटरको दूरीमा रहेको उक्त गुफामा पुग्न यातायात र पैदल मार्ग हुँदै सजिलै पुग्न सकिन्छ ।

कफिनमै जीवित भेटिइन् थाई महिला

बैङ्कक । दाहसंस्कारका लागि ल्याइएकी एक थाई महिला अचानक कफिनभित्र चहलपहल गर्न थालेपछि मन्दिरका कर्मचारीहरू अचम्मित तथा स्तब्ध बन्नु परेको छ ।

बैङ्कक बाहिरी क्षेत्र पर्ने नोन्थाबुरी प्रान्तस्थित बौद्ध मन्दिर ‘वाट रात प्राखोङ थाम’ ले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियोमा सेतो कफिनभित्र पिकअप ट्रकको पछाडि सुतिरहेकी एक महिलाले बिस्तारै हात र टाउको हल्लाउन थालेको देखिन्छ, जसले मन्दिरका कर्मचारीहरूलाई एकैछिनमा विश्वास गर्न नसक्ने अवस्थासम्म पुर्‍याएको थियो ।

मन्दिरका महाप्रबन्धक तथा वित्तीय मामिला प्रमुख पैराट सुदथुपले सोमबार एपीसँग कुरा गर्दै ६५ वर्षीया उक्त महिलालाई उनका भाइले फित्सानुलोक प्रान्तबाट दाहसंस्कारका लागि ल्याएको जानकारी दिएका छन् । उनका अनुसार कफिनभित्रबाट हल्का ढकढक्याएको आवाज आएको सुनेपछि घटनाले अनपेक्षित रूप लिएको थियो ।

“म केही क्षणका लागि अचम्म परेँ र कफिन खोल्न भन्नुप¥यो । खोल्नेबित्तिकै सबैजना स्तब्ध भयौँ”, उनले भने, “उनी अलिक आँखा थोरै खोलेर कफिनको ढकढक्याउँदै थिइन् । उनले केही समयदेखि सहयोग माग्दै ढकढक्याइरहेको हुनुपर्छ ।”

पैराटका अनुसार ती महिला करिब दुई वर्षदेखि ओछ्यानमै परिरहेकी थिइन् । स्वास्थ्य अवस्था झन् बिग्रँदै गएपछि दुई दिनअघि उनले सास फेर्न छाडेकीजस्तो देखिएकाले भाइले मृत भनी कफिनमा राखेर बैङ्ककस्थित अस्पतालसम्म करिब ५०० किलोमिटर (३०० माइल)यात्रा गरेका रहेछन् । ती महिलाले पहिल्यै आफ्नो अङ्ग दान गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।

तर अस्पतालले आधिकारिक मृत्यु प्रमाणपत्र नहुँदा उक्त प्रस्ताव अस्वीकार गरिदिएको पैराटले बताएका छन् । मन्दिरले निःशुल्क दाहसंस्कार सेवा उपलब्ध गराउने भएकाले भाइले आइतबार मात्रै मन्दिरसँग सम्पर्क गरेका थिए । तर आवश्यक कागजात नहुँदा मन्दिरले पनि सेवा उपलब्ध गराउन नसकेको उनको भनाइ छ ।

यही कुरा–मृत्यु प्रमाणपत्र कसरी प्राप्त गर्ने भन्ने बारे मन्दिरका अधिकारीहरूले बुझाइरहँदा–कफिनभित्रबाट ढकढक्याएको आवाज आएको थियो । त्यसपछि तुरुन्तै महिलाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको मन्दिरले जनाएको छ ।

पैराटका अनुसार मन्दिरका मठाधीशले ती महिलाको उपचार खर्चसमेत बेहोर्ने प्रतिबद्धता जनाएका छन् ।

बुर्का लगाएर विरोध गरेकी अस्ट्रेलियाली सिनेटर वर्षभरका लागि निलम्बित

मेलबर्न । राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाउँदै आएकी अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई मुस्लिम पहिरन—बुर्का—लगाएर संसद्को च्याम्बरमा प्रवेश गरेको विरोधस्वरूप मङ्गलबार यस वर्षभरका लागि संसद्बाट निलम्बन गरिएको छ ।

मुस्लिम र आप्रवासनविरोधी विचारका लागि चर्चित वन नेशन पार्टीकी ७१ वर्षीया नेत्री ह्यान्सनले सोमबार आफ्नो ‘सार्वजनिक स्थानमा अनुहार ढाक्ने पहिरन प्रतिबन्ध’ सम्बन्धी प्रस्तावित विधेयकलाई सहकर्मीहरूले अस्वीकार गरेको विरोधस्वरूप टाउकादेखि खुट्टासम्म ढाकिने बुर्का लगाएर सिनेटमा प्रवेश गरेकी थिईन्ंं । उक्त शैलीलाई सांसदहरूले अपमानजनक स्टन्टको रूपमा व्याख्या गर्दै उनलाई सोही दिनका लागि निलम्बन गरिएको थियो ।

उनको माफी नआएपछि मङ्गलबार सिनेटले कडा निन्दा प्रस्ताव पारित गर्दै सात बैठक दिनका लागि लगातार संसद् प्रवेशमा प्रतिबन्ध लगाएको छ । यसलाई पछिल्ला दशकहरूमा सिनेटरप्रति लागू गरिएको कडा कारबाहीमध्ये एक मानिएको छ । सिनेट बिहीबारबाट वर्षभरका लागि स्थगित हुने भएकाले यो निलम्बन आगामी फेब्रुअरीमा संसद् पुनः सुरु नहुँदासम्म जारी रहनेछ ।

सिनेटबाट बाहिरिसकेपछि ह्यान्सनले पत्रकारहरूसँग कुरा गर्दै आफूलाई न्याय कसैले होइन सन् २०२८ को आम निर्वाचनमा मतदाताहरूले गर्ने बताउँदै सिनेटका सहकर्मीहरूले गरेको कारबाहीलाई पाखण्डपूर्ण भएको टिप्पणी गरेकी छिन् । उनले संसद्मा कुनै औपचारिक ड्रेस कोड नभएको तर्क गर्दै ‘उनीहरू बुर्कामा प्रतिबन्ध लगाउन चाहन्थे तर मलाई भने लगाउन नै दिइएन’ भनी प्रतिकिया दिएकी थिईन् ।

ह्यान्सनले यसअघि सन् २०१७ मा पनि यस्तै शैलीमा बुर्का लगाएर संसद्मा प्रवेश गर्दा ठूलो विवाद भएको थियो, तर त्यतिबेला उनलाई सजाय दिइएको थिएन । हालै फ्लोरिडामा आयोजित कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्समा सम्बोधन गरेर आएकी उनीमाथि यसपटक भने सिनेटले कडा र स्पष्ट कदम चाल्यो ।

सिनेटमा सरकारी नेत्री, मलेसियामा जन्मिएकी तर गैरमुस्लिम पेनी वोङले निन्दा प्रस्ताव पेस गर्दै बुर्का लगाएर प्रस्तुत भएको ह्यान्सनको शैलीले ‘सिङ्गो धर्मलाई उपहास र बदनाम गरेको’ बताएकी छिन् । उनका अनुसार अस्ट्रेलियाको झण्डै दुई करोड ८० लाख जनसङ्ख्यामध्ये करिब १० लाख मानिस इस्लामी आस्थाको पालनामा छन्, जसको सम्मानमाथि प्रहार हुने व्यवहारले सामाजिक सद्भाव कमजोर पार्ने जोखिम राख्छ ।

सिनेटकी सदस्य तथा पाकिस्तानमा जन्मिएकी मेहरीन फारुकीले आफू र अफगानिस्तानमा जन्मिएकी फातिमा पेमन मात्रै सिनेटमा मुस्लिम प्रतिनिधि रहेको बताउँदै ह्यान्सनको यस्तो शैलीले अस्ट्रेलियामा विद्यमान संरचनात्मक तथा प्रणालीगत जातीय विभेदलाई उजागर गरेको टिप्पणी गरेकी छिन् । हिजाब लगाउने पेमनले मङ्गलबार बोलेकी थिइनन् , तर सोमबार ह्यान्सनको बुर्का प्रयोगलाई ‘अपमानजनक’ र ‘लाजमर्दो’ भन्दै कडा प्रतिक्रिया दिएकी थिईन् ।

गत वर्ष एक न्यायाधीशले सामाजिक सञ्जालमा फारुकीलाई ‘आफ्नो देश फर्क’ भन्ने शैलीमा गरेको टिप्पणी जातीय भेदभावविरोधी कानूनको उल्लङ्घन भएको ठहर गर्दै ह्यान्सनविरुद्ध फैसला सुनाईएको थियो । ह्यान्सनले हाल सो फैसलाविरुद्ध अपिल गरिरहेकी छिन् ।

अस्ट्रेलियन फेडेरेसन अफ इस्लामिक काउन्सिलका अध्यक्ष रतेब जिनेदले एक विज्ञप्ति जारी गर्दै ह्यान्सनको कार्यलाई ‘मुस्लिम, आप्रवासी तथा अन्य अल्पसङ्ख्यक समुदायलाई निरन्तर बदनाम गर्ने प्रवृत्तिको हिस्सा’ भएको बताएका छन् ।

सन् १९९६ मा आफ्नो पहिलो संसदीय भाषणमै अस्ट्रेलिया ‘गैर–भेदभावपूर्ण आप्रवासन नीतिका कारण एसियालीहरूले भरिने जोखिममा छ’ भन्ने विवादास्पद अभिव्यक्तिका कारण आलोचित भएकी ह्यान्सनले यसपटकको कदमले पुनः जातीय र धार्मिक संवेदनशीलताका विषयमा राष्ट्रिय बहस चर्काएको छ

विधानमा विशेष महाधिवेशन प्रस्ताव दर्ताको दफा छ, फिर्ताको छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र देशको समस्या समाधानका लागि सभापति शेरबहादुर देउवाले नै निर्णायक पहलकदमी लिनुपर्ने धारणा सार्वजनिक गरेका छन् । आज (मंगलबार) उदयपुरको गाईघाटमा कांग्रेस नेता–कार्यकर्तामाझ धारणा राख्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘दुई महामन्त्री के भन्छन् ? या, सात भाइ के भन्छन् ? अब त्यो मुख्य कुरा होइन,’ महामन्त्री शर्माले भने, ‘असोज २८ मा लिखित वक्तव्यमार्फत सभापति शेरबहादुर देउवाले जुन संयम, समन्वय र परिपक्वताको सन्देश दिनु भएको थियो, अब त्यो कायम राख्ने कि नराख्ने मूल प्रश्न हो ।’ सभापति देउवाले त्यो दिन केन्द्रीय समितिमा दिएको वक्तव्यमा ‘मंसिरमा महाधिवेशन छुट्नु हुन्न थियो’ भनेर शर्माले भनेका छन् । ‘त्यो छुट्नु गल्ती प्रमाणित भएको छ,’ उनले भने । अब पार्टी र देशको आजको समाधानका लागि सभापति देउवाले नै निर्णायक पहलकदमी लिनुपर्ने मत उनले अगाडि सारेका छन् । उनले भने, ‘उहाँको सकारात्मक हस्तक्षेपले पार्टीलाई समाधानमा पुर्‍याउने मलाई विश्वास छ ।’

सँगै महामन्त्री शर्माले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन फिर्ता हुने अवस्था नरहेको बताए। ‘विधानमा विशेष महाधिवेशन प्रस्ताव दर्ताको दफा छ, फिर्ताको दफा छैन । त्यसैले विशेषको ब्याक गियर हुन्न,’ महामन्त्री शर्माले भने । ९० दिनभित्र विशेष महाधिवेशन गर्नै पर्ने उनले बताए। ‘सोही मितिभित्र नियमित महाधिवेशन गर्ने सहमति जुटेमा विशेष महाधिवेशनको माग सम्बोधन हुन्छ,’ उनले भने । ‘कांग्रेस विधानसम्मत कांग्रेस अनि देश संविधानसम्मत नचल्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ,’ महामन्त्री शर्माले भने ।

 

 

 

पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको भन्ने मानसिकताबाट मुक्त हुनुस् : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव नेपालले पार्टी एकतापछि अब नेता कार्यकर्तालाई पुरानो पार्टीको धङधङी त्याग्न आग्रह गरेका छन्। पेरिसडाँडामा आयोजित पार्टी प्रदेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अब नयाँ भइसकेको बताए। नेपालले भने, ‘हामीहरूले पेरिसडाँडा मेरो, आलोकनगर तपाईंको भन्ने होइन, हामी एउटै भइसकेको छौँ । हामीले ‘बा’ भन्ने प्रवृत्ति हाबी हुन दिन हुँदैन। ‘बा’ प्रवृत्तिबाट मुक्त होऔँ, विचार, सिद्धान्त र कार्यक्रमले एकताबद्ध होऔँ ।’

नेपालको राजनीतिमा जनतालाई भरोसा दिनसक्ने पार्टीको रूपमा अगाडि बढाउनुपर्ने सहसंयोजक नेपालले बताए। सह–संयोजक नेपालले कम्युनिष्ट पार्टीको एकताले देशव्यापी रुपमा उत्साह थपिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गर्ने बताए । उनले आपसी मतभेद नगरी जनताको विश्वासको पार्टी बनाउन देशव्यापी सन्देश दिने उल्लेख गरे।

फसेका अन्तरिक्ष यात्री उद्धारका लागि चीनद्वारा ‘शेन्जोउ–२२’ प्रक्षेपण

बेइजिङ । चीनले आफ्ना तीन जना अन्तरिक्ष यात्रीलाई सुरक्षित रुपमा घर फर्काउन सहयोग पुर्‍याउने उद्देश्यले मङ्गलबार ‘शेन्जोउ–२२’ अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ । क्षतिग्रस्त अन्तरिक्ष यानका कारण ती अन्तरिक्ष यात्री चीनको तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा अस्थायी रूपमा फसिरहेका थिए ।

ती अन्तरिक्ष यात्रीहरूले सन् २०२६ को नोभेम्बर १ मा तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा डक गरेका थिए र अहिले फिर्तीका लागि यही नयाँ प्रक्षेपित ‘शेन्जोउ–२२’ को प्रयोग गर्नेछन् ।

यसअघि शेन्जोउ–२० मिसनका अन्तरिक्ष यात्रीहरूले आफ्नै यानको झ्यालमा क्षति पुगेपछि पृथ्वी फर्कने यात्रामा नौ दिनको ढिलाइ सहनु परेको थियो । अन्ततः उनीहरू ‘शेन्जोउ–२१’ प्रयोग गरेर फर्किए । सोही यानले हालै प्रतिस्थापन चालक दललाई तियाङ्गोङमा पुर्‍याएको थियो ।

तीन सदस्यीय चालक दल पृथ्वीमा सुरक्षित अवतरण गरेपछि प्रतिस्थापनका रूपमा त्यहाँ पुगेका अर्को तीन जना अन्तरिक्ष यात्री आपतकालीन अवस्थामा फिर्तिने सुनिश्चित मार्गविनै अस्थायी रूपमा स्टेशनमै रहनुपरेको थियो ।

राज्य प्रसारणकर्ता सिसिटिभीका अनुसार क्षति भएको ‘शेन्जोउ–२०’ यान अहिले अन्तरिक्षमै रहेको छ र यसलाई पृथ्वीमा फर्काएर विस्तृत मूल्याङ्कन गरिनेछ । मूल्याङ्कनपछि उक्त यानले अन्तरिक्ष यात्रीहरूको सुरक्षित यातायातका आवश्यक मापदण्ड पूरा नगरेको पुष्टि भएको छ ।

चिनियाँ अन्तरिक्ष कार्यक्रमले पछिल्ला वर्षहरूमा तीव्र प्रगति गरेका मिशनहरूमार्फत तियाङ्गोङ अन्तरिक्ष स्टेशनलाई मोड्युल–मोड्युल विस्तार गर्दै आएको छ । उक्त कार्यक्रम चीनको सेनाद्वारा नियन्त्रित भएकाले अमेरिकाको सुरक्षा चिन्ताका कारण चीन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा सहभागी हुन नसकेको बताइन्छ । त्यसपछि चीनले आफ्नै तियाङ्गोङ स्टेशन विकास गरेको हो ।

‘स्वर्गीय दरबार’ अर्थ भएको तियाङ्गोङ सन् २०२१ मा पहिलो टोलीलाई स्वागत गर्दै सञ्चालनमा आएको थियो । आकारमा यो २५ वर्षदेखि सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनभन्दा सानो भए पनि चीनका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण परियोजना मानिन्छ ।

श्रीमान रोजगारीका लागि साउदीमा, परिवारकै सदस्यबाट महिलाको वीभत्स हत्या

रौतहट । रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक महिलाको परिवारकै सदस्यहरूको संलग्नतामा भएको विभत्स हत्या पछाडि लुकेको रहस्य बाहिर आएको छ । रोजगारीका लागि विदेशमा रहेका बेला परिवारका सदस्यहरूले योजनाबद्ध रूपमा हत्या गरी घरकै भुस राख्ने कोठाभित्र खाडल खनेर गाडेको अवस्थामा महिलाको शव भेटिएको हो ।

मृतक २५ वर्षीया तरीमा खातुन, भुसाहा निवासी शेख आदिलकी पत्नी हुन् । आदिल रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत छन् । सोमबार राति हत्या गरिएपछि मंगलबार बिहान स्थानीयले शंका व्यक्त गरेपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुगेको थियो । त्यही क्रममा खातुनको शव भुस राख्ने स्थानको खाडलभित्र पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

हत्या भएको रातदेखि नै खातुनका ससुरा शेख अली मोहम्मदसहित घरका सबै सदस्य फरार रहेका छन् । उनीहरूले मृतक खातुनका डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर भागेको प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए । फरार परिवारजनको खोजी तीव्र पारिएको प्रहरीले बताएको छ ।
घटनाको मूल कारण भने करिब एक महिनाअघि माइतीतर्फ भएको विवाह समारोहकै दिन देखिएको विवादलाई मानिएको छ । कात्तिक १८ गते, समारोहका बेला खातुन नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग ‘अनैतिक सम्बन्ध’ राखिरहेको अवस्थामा भेटिएको दाबी परिवारजनले गरेका छन् । विवाद बढेपछि दुवैले विवाह गर्ने मौखिक सहमति गरेको र त्यसपछि खातुनलाई ससुरा अली मोहम्मदको जिम्मामा छाडिएको मृतकका बुबा ताज मोहम्मदले बताए ।

घटनाको रात खातुनका भाइ शेख आस मोहम्मद दिदीको घरमा भेटघाटका लागि पुगेका थिए । त्यही बेला उनले दिदीमाथि परिवारका सदस्यहरूले कुटपिट गर्दै हत्या गरिरहेको देखेको दाबी गरेका छन् । रोक्न प्रयास गर्दा ‘हल्ला गर्‍यौं भने तिमीलाई पनि मारिदिन्छौं’ भन्दै धम्की दिएपछि उनी घरबाट भागेर ज्यान जोगाउन सफल भएको परिवारजनले बताएका छन् । हत्या भएको प्रमाणका रूपमा आस मोहम्मदले दिदीको अवस्था देखिने तस्बिर माइतीतर्फ पठाएको पनि परिवारजनको भनाइ छ ।

प्रहरीका अनुसार खातुनका दाहिने खुट्टामा गहिरो चोट लागेको थियो भने टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थलबाट एक चक्कु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । खातुनको शवलाई पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । प्रहरीले फरार सबै परिवार सदस्यहरूको खोजीका लागि विशेष टोली परिचालन गरेको जनाएको छ ।

 

 

ईश्वर पोखरेलले गरे एमाले अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गरेका छ्न । आज एक वक्तव्यमार्फत उनले भावी अध्यक्षको दाबेदारी प्रस्तुत गर्दै उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताएका हुन् ।

“पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उमेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु । पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उमेदवारी घोषणा गरेको हुँ,” पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु ।’ वक्तव्यमा उल्लेख छ ।

पोखरेलले पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा लिएका छन् ।

पोखरेलले अभिभावकीय भूमिका मार्फत सहज निकासका लागि ओलीलाई आग्रह गरेका छन् ।

 

 

 

चीनले भारत नजिकै सैन्य पूर्वाधार विस्तार गर्दै

नयाँदिल्ली । भारत–चीन सीमा सन् २०१७ को डोकलाम गतिरोध र सन् २०२० को गलवान उपत्यकाका घटनापछि तुलनात्मक रूपमा शान्त देखिए पनि चीनले तिब्बत क्षेत्रमा भारतीय सीमा नजिक सैन्य पूर्वाधार विस्तारलाई निरन्तर अघि बढाइरहेको छ ।

पिपुल्स लिबरेसन आर्मी (पिएलए) ले वास्तविक नियन्त्रण रेखा ९एलएसी० वरिपरि आफ्ना सुविधा, रसद केन्द्र र कनेक्टिभिटी संरचना क्रमशः विस्तार गर्दै आफूलाई थप बलियो बनाइरहेको छ ।

हालै चीनले तिब्बतमा करिब चार हजार ३०० मिटर उचाइमा नयाँ मानव रहित हवाई वाहन (युएभी) परीक्षण केन्द्र निर्माण गरेको छ । यसले पिएलएलाई उच्च–उचाइ र कठोर मौसममा ड्रोन परीक्षण गर्न सहज बनाउने अपेक्षा छ । सात सय २० मिटर लम्बाइको धावन मार्ग, ह्याङ्गरहरू तथा प्रशासनिक भवनहरू रहेको यो पूर्वाधार न्गारीस्थित पिएलए रसद केन्द्रको दक्षिणपूर्वमा अवस्थित छ ।

तिब्बती पठारको कठोर भूभाग, चिसो मौसम, उचाइ रोगको जोखिम र सीमित स्थानीय आपूर्तिका कारण सैन्य गतिविधि कठिन मानिन्छ । सैनिकहरूलाई पूरक अक्सिजन, जमेको पानी पगालेर प्रयोग गर्ने आवश्यकता तथा सवारी साधनका लागि इन्सुलेटेड ग्यारेज अनिवार्य हुन्छ । हेलिकप्टरहरूको पेलोड क्षमता पनि उल्लेख्य रूपमा घट्छ । यिनै चुनौतीबीच चीनले व्यापक सडक, हवाई तथा रेल पूर्वाधार विकासलाई प्राथमिकता दिइरहेको छ ।

अमेरिकी वायु सेनाको ‘चाइना एरोस्पेस स्टडिज इन्स्टिच्युट’ (सिएएसआई) ले सन् २०२५ मा प्रकाशित प्रतिवेदनमा तिब्बतमा कमजोर यातायात पूर्वाधार पिएलएको सीमितता भए पनि पछिल्ला वर्षमा तीव्र गतिमा विस्तार हुँदै प्रभावकारी रसद संयन्त्र सक्षम बनाइएको उल्लेख गरेको छ । चीनले आफ्नो १४औँ पञ्चवर्षीय योजनाअन्तर्गत तिब्बतमा सम्बन्धित पूर्वाधारका लागि ३० अर्ब अमेरिकी डलर विनियोजन गरेको छ ।

डोकलामपछि भारतसँगको सीमा नजिक चीनले राजमार्ग, सहायक सडक तथा पुलहरू तीव्र गतिमा विस्तार गरिरहेको भारतीय थिङ्क–ट्याङ्क ओआरएफले पनि जनाएको छ । विशेषगरी जी–३१४, जी–६८४, जी–६९५ र जी–२१६ जस्ता मार्गहरूले सैन्य परिचालन क्षमतालाई उल्लेखनीय रूपमा सहज बनाएको बताइन्छ । पाङ्गोङ त्सो क्षेत्रमा सन् २०२१ र सन् २०२४ मा बनेका दुई पुलले सैनिक आवत–जावतलाई झनै छोट्याइदिएको छ ।

यस्तै, सन् २०१७ देखि सन् २०२३ बीच तिब्बत र सिन्जियाङमा कम्तीमा ३७ सैन्य वा दोहोरो प्रयोगका विमानस्थल र हेलिपोर्ट निर्माण गरिएका छन् । सीमापट्टि करिब ६०० भन्दा बढी ‘सीमावर्ती गाउँ’ निर्माण गरी प्रशासनिक र रसद उपस्थिति विस्तार गरिएको सिएएसआईकै अध्ययनले जनाएको छ ।

तिब्बत सैन्य जिल्लामा तीन संयुक्त–हतियार ब्रिगेड, आठ सीमा रक्षा रेजिमेन्ट तथा विस्तारित रसद संरचनाले पिएलएको परिचालन क्षमता थप सुदृढ बनेको छ । कठिन भूभागमा पनि ड्रोनमार्फत आपूर्ति पुर्‍याउने, आवश्यकताअनुसार प्याक जनावर प्रयोग गर्ने जस्ता उपायहरू चीनले अवलम्बन गरेको छ ।

विश्लेषकहरूका अनुसार चीनले तिब्बत र सिन्जियाङमा दोहोरो प्रयोग हुने पूर्वाधार निर्माणलाई रणनीतिक रूपमा उपयोग गर्दै भारतसँगको भविष्य सम्भावित द्वन्द्वका लागि आफूलाई योजनाबद्ध रूपमा तयार पारेको सङ्केत गर्छ । विशेषज्ञहरूका अनुसार तीव्र गतिमा बढिरहेको चिनियाँ पूर्वाधार क्षमताले भारतलाई आफ्नो सीमा क्षेत्रमा विकासको गति अझ बढाउन बाध्य बनाउने देखिन्छ ।

कांग्रेस सभापति देउवा फेरि ‘सक्रिय’ राजनीतिमा

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व–संघर्ष निर्णायक मोडमा पुगेको छ । सक्रिय राजनीतिबाट अलग हुँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक जिम्मेवारी दिएको सन्देश सार्वजनिक गरेको एक महिनामै सभापति शेरबहादुर देउवा पुनः केन्द्रविन्दुमा फर्किएका छन् । आगामी राष्ट्रियसभा (११ माघ) र प्रतिनिधिसभा (२१ फागुन) निर्वाचनका लागि दल दर्ता गर्दा कांग्रेसले देउवाकै नाम–हस्ताक्षर निर्वाचन आयोगमा पेस गरेपछि विवाद झनै झाँगिएको छ ।

दल दर्तामा देउवाको हस्ताक्षर पेश हुनु नेताहरूले उनको ‘पूर्ण सक्रियता’ को संकेतका रूपमा लिएका छन् । अब निर्वाचनका सबै निर्णय, विशेषतः उम्मेदवार छनोटमा, देउवाकै प्रभाव निर्णायक हुने आंकलन छ । यता, कार्यवाहक सभापति खड्काले निर्णय क्षमताबारे उठेका प्रश्न र पार्टीभित्र बढ्दो असन्तुष्टिले संस्थापनलाई नै असहज बनाइरहेको छ ।

महामन्त्री गगन थापा–विश्वप्रकाश शर्मा नेतृत्वको समूह विशेष महाधिवेशनको अभियानमा झनै आक्रामक बनेको छ । ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित दर्ता भइसकेको विशेष महाधिवेशनको निवेदन ‘फिर्ता लिनुपर्ने’ संस्थापन पक्षको शर्तलाई उनीहरूले अस्वीकार गरिदिएका छन् । उनहरूको तर्क छ, ‘नियमित महाधिवेशन पुस मसान्तभित्र गर्ने सहमति भए विशेष महाधिवेशनको औचित्य आफै सकिन्छ । तर निवेदन फिर्ता लिनु भनेको महाधिवेशन नै नहुने योजना हो ।’

दल दर्तामा आफ्नै हस्ताक्षर चल्ने व्यवस्था गराएर देउवाले चुनाव व्यवस्थापनमा प्रत्यक्ष भूमिका लिन खोजेको आरोप इतरपक्षीय नेताहरूको छ । महामन्त्री थापाले खुलेरै भन्न थालेका छन्, ‘आगामी चुनावमा टिकट नयाँ नेतृत्वले बाँड्छ, देउवाले होइन ।’ यससँगै देउवा पनि नियमित-विशेष दुवै महाधिवेशन पटक–पटक अघि सार्ने रणनीतिमा लागेको आरोप तीव्र बनेको छ ।

उपसभापति खड्का स्वयं दल दर्तामा देउवाको पुनः सक्रियताप्रति असन्तुष्ट देखिएको जानकारी बाहिरिएको छ । कयौं नेताहरूको धारणा छ, ‘कार्यबाहकलाई समस्या र अपजसको भार दिने, तर टिकट वितरणको बेला देउवा आफै सक्रिय हुने—यो राजनीतिक र नैतिक दुवै दृष्टिले गलत छ ।’ जेन–जी आन्दोलनले माग गरेको ‘नेतृत्व परिवर्तन’ र ‘दुई पुस्ताबीचको संक्रमण’ को मुद्दा फेरि अगाडि धकेलिएको महसुस विशेष महाधिवेशन पक्षधर नेताहरूले गरिरहेका छन् । उनीहरू भन्छन्, ‘देउवाले कार्यबाहक दिएर फर्किनु आन्दोलनको मर्ममाथि चोट हो । नेतृत्व बदलिएन भने चुनावमा कांग्रेस कमजोर हुन सक्छ ।’

अन्तिम निष्कर्ष : कांग्रेस निर्णायक वैचारिक–संगठनात्मक मोडमा ।
आगामी केन्द्रीय कार्यसमितिको बैठक अब ‘वारपार’ को बैठक मानिँदैछ ।
– संस्थापन पक्ष महाधिवेशन वैशाख–पछि धकेल्न चाहन्छ ।
– इतरपक्ष चुनावअघि नै नेतृत्व र नीति परिवर्तन हुनैपर्ने अडानमा छ ।
दल दर्ताबाट देउवाको पुनः सक्रियता कांग्रेसभित्र महिनौदेखि चलिरहेको शक्ति–युद्धलाई खुलेआम ‘सभापति बनाम महामन्त्री’ को संघर्षमा बदलिसकेको छ ।

वीरगञ्ज नाकाबाट दुई खर्ब ८४ अर्बका सामान भित्रिए

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात रु ४३ अर्ब ८६ करोडले वृद्धि भएको छ । गत आवको चार महिनाको अवधिमा रु दुई खर्ब ४१ अर्ब तीन करोडको वस्तु तथा सामान आयात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै १८ प्रतिशत वृद्धि भएको जानकारी दिए । “गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयातमा मात्रै नभएर राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ,” उनले भने ।

कार्यालयका अनुसार गत आवको चार महिनामा कार्यालयले रु ६६ अर्ब ७३ करोड राजस्व सङ्कलन गरेको थियो । तर, चालु आवको चार महिनामा भने रु ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज नाका हुँदै चार महिनामा रु ५४ अर्ब १२ करोड मूल्य पर्ने पाँच थरीको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यस्तै सोही अवधिमा रु २५ अर्ब ५२ करोडको फलाम तथा फलामबाट बनेको सामान आयात भएको छ । रु १९ अर्ब ५४ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा भित्रिएका छन् ।

वीरगञ्ज नाका हुँदै चार महिनामा रु १८ अर्ब ३१ करोडको भटमासको कच्चा तेल, रु १६ अर्ब चार करोडको इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा तथा रु १५ अर्ब ४३ करोडको मलखाद आयात भएको छ ।

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलव २० प्रतिशतले बढेर दुई हजार ६५५ दशमलव ९९ अङ्कमा पुगेको हो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३९ अङ्कले बढेर ४५७ दशमलव ५३ अङ्कमा पुगेको छ । मङ्गलबार बजारमा नेप्से परिसूचक सामान्य बढेपनी कारोबार रकम भने घटेको छ । आज कूल ३१९ कम्पनीका एक करोड १९ लाख ७६ हजार ७८० कित्ता शेयर रु पाँच अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ मा खरिद बिक्री भएको छ । सोमबार कुल रु सात अर्ब तीन करोड ५४ लाख ८० हजार १३६ मा शेयर खरिद बिक्री भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएकामध्ये विकास बैङ्क, जीवन बिमा, सामूहिक लगानी कोष र व्यापार समूहका उपसूचक घटेका छन् । त्यस बाहेकका अरु उपसूचक भने बढेका छन् । जसमा सबैभन्दा धेरै होटल तथा पर्यटनको उपसूचक एक दशमलव ४१ प्रतिशतले बढेको छ ।

आज बन्दीपुर केवलकारको शेयर रु २६ करोड ९९ लाख ९७ हजार ६४९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । झापा इनर्जी लिमिटेडको शेयरमूल्यमा १० प्रतिशतले वृद्धी भइ सकारात्मक सर्किट लाग्यो । त्यस्तै सागर डिस्टिलरी लिमिटेड र श्रीनगर एग्रोटेक इन्ड्रष्ट्री लिमिटेडका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाएका छन् । आजको कारोबारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको लगानीकर्ताले शेयरमूल्यमा चार दशमलव ९६ प्रतिशतले गुमाए ।

यस्ता छन् मन्त्रिपरिषद वैठकका १४ निर्णयहरु (सूचीसहित)

काठमाडौं । सरकारले भूमि अध्यादेश मन्त्रिपरिषद्बाट पारित गरेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भूमि अध्यादेश सिफारिस गरिएको जानकारी दिएका छन् । ‘भूमिसम्बन्धी अध्यादेश, नवौँ संशोधन २०८२ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ,’ मन्त्री पुनले भने ।

सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि, २०७१ खारेज गर्ने निर्णय गरेको छ । विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गर्ने निर्णय गरेको मन्त्री पुनले जानकारी दिए । त्यस्तै, युरोपियन युनियनको ‘ग्रीन एण्ड रिलाइबल इनर्जी फर इकोनोमिक प्रोस्परिटी इन नेपाल’ परियोजनाका लागि २३ दशमलव ५८ मिलियन युरो बराबरको सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, सरकारले विद्युत् नियमन आयोगलाई ‘साउथ एसिया फर इन्फ्रास्टक्चर रेगुलेशन’ को सदस्यता लिन स्वीकृति प्रदान गरेको मन्त्री पुनले बताए ।

नेपाल प्रहरीको हाल कायम रहेको स्वीकृत दरबन्दीभित्र नै केही कार्यालयका पद मिलान तथा दरबन्दी थपघट गर्न समेत बैठकले स्वीकृति दिएको छ । यसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी कार्य प्रारम्भ गर्ने निर्णय भएको छ ।
गत भदौ २३ र २४ का जेनजी आन्दोलनका घाइतेको उपचार तथा राहतका व्यवस्था गर्ने, सरकारद्वारा सञ्चालनमा रहेको सहायता कक्षमा सह–सचिव तथा उप–सचिवबाहेक १० जना स्वयंसेवक खटाउने र उनीहरूलाई चार महिनासम्म मासिक १५ हजारका दरले खाजा खर्च उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्रिपरिषद्ले प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । साथै आर्थिक वर्ष २०८२/८३ मा वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुने संरक्षित क्षेत्र तथा जैविक मार्गका एकीकृत भू–परिधि आयोजना लगायतका कार्यक्रमका लागि अधिकृत तहका ३७ दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

हेर्नुस् मन्त्रिपरिषदका निर्णयहरु

 

एनपीएल: २ टस हारेर लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमाडौं

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर लुम्बिनीले पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

लुम्बिनीलाई हराउँदै काठमाडौं दोस्रो जित निकाल्ने लक्ष्यमा छ । काठमाडौंले यसअघिका तीन खेलमा एक मात्रै जित निकालेको छ । जनकपुर बोल्ट्सँग जितेको काठमाडौंले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग हारेको थियो ।

काठमाडौंलाई हराउँदै लुम्बिनीले दोस्रो जित निकाल्ने दाउमा छ । लुम्बिनीले यसअघिको दुई खेलमा एक हार र एक जित निकालेको थियो । लुम्बिनीले कर्णाली याक्ससँग हारेको थियो भने चितवन राइनोजसँग जितेको थियो ।

निर्वाचन हुँदैन भन्नेलाई कामबाट जवाफ दिन्छौं : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य जिम्मेवारी सुशासन प्रवद्र्धन गर्दै निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् । आज (मंगलबार) लुम्बिनी प्रदेश, भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले निर्वाचन नै सरकारको ‘मूल मन्त्र’ भएको बताएका हुन् ।

अर्यालले निर्वाचन गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न सरकारले आतुर रहेको दाबी गर्दै भने– ‘हामी कुनै व्यक्तिगत आकांक्षा वा लोभका लागि आएका छैनौँ । देशको विशिष्ट परिस्थितिमा पाएको जिम्मेवारी पूरा गर्न केन्द्रित छौँ ।’ एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताउँदै आएको प्रति प्रतिक्रिया दिँदै उनले भने, ‘निर्वाचन हुँदैन भन्नेहरुलाई सरकार आफ्नो काम र भूमिकाबाट जवाफ दिँदैछ । विभिन्न बाहाना देखाएर चुनाव रोक्ने प्रयास बेकार हुनेछ ।’

गृहमन्त्री अर्यालले शान्ति र सुव्यवस्था कायम राख्न तथा निर्वाचनको वातावरण सिर्जना गर्न प्रदेश सरकारको भूमिका महत्वपूर्ण भएको पनि बताए । उनले निर्वाचन पूर्व, निर्वाचनको अवधिमा र निर्वाचनपछि प्रदेश सरकार सक्रिय रहन केन्द्रीय संयन्त्रसँग मिलेर कार्य गर्ने योजना रहेको जानकारी दिए । उनले थपे, ‘हामी कुनै अपेक्षाले आएका होइनौँ । हाम्रो व्यक्तिगत ईच्छाले आएका पनि होइनौँ । देशको विशिष्ट अवस्थामा शुन्यतालाई पूरा गर्न परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा त्यसका लागि आएका हौँ । हामीलाई कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ पनि छैन। प्राप्त जिम्मेवारीलाई अर्जुनदृष्टिमा राखेर स्वहासिल गर्ने दिशामा सरकार केन्द्रित रहेको छ ।’ आफ्नो ईच्छाले आफूहरु सरकारमा नआएको र पाएको जिम्मेवारीलाई पूरा गर्न केन्द्रित रहेको अर्यालको भनाई थियो ।

 

जेनजीले नेकपालाई अभिभावक ठान्न थालेका छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर १२ गतेदेखि आफूहरुले गर्न लागेको एकता सन्देश सभाले निर्वाचनको लागि दबाब सिर्जना गर्ने बताएका छन् । अखिल नेपाल ट्रेड युनियनले मंगलवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी सहितका विभिन्न कम्युनिष्ट घटक दलहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको धनगढीदेखी विराटनगरसम्म एकता सन्देश सभा गर्न लागिएको बताए ।

संयोजक प्रचण्डले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिएको दाबी गरेका छन् । प्रचण्डले जेनजी आन्दोलनको सुरुमै आफूहरूले समर्थन गरेका कारण जेनजी युवाहरूले नेकपालाई अभिभावक ठान्न थालेको दाबी गरे । प्रचण्डले पार्टी एकता प्रक्रियामा पनि सबभन्दा बढी युवालाई सम्बोधन गर्न खोजिएको जिकिर गरे । ‘युवाका ती सही आवाजहरूलाई बलपूर्वक दमन गर्ने कोसिस नगरियोस् भनेर सबभन्दा पहिले सरकारलाई खबरदारी पनि गर्‍यौं, त्यहि पहलका कारण र विस्तारै युवा पुस्तालाई हामीले गर्दै गरेको संवाद र सहकार्यको कारण अब जेनजी पुस्ताका युवाहरूले पनि आफ्नो असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी हो भन्ने बुझ्दै गएका छन्,’ उनले भने ।

जेनजी आन्दोलनपछिको अवस्था सामना गर्न, राष्ट्रको स्वाधिनता र वामपन्थी दललाई एकताबद्ध गर्न नेपाली कम्युनिस्ट पार्टी गठन भएको उनको भनाइ छ ।एकता सन्देश सभामा लाखौँ जनता उपस्थिति हुने उल्लेख गर्दै उनले त्यहाँबाट निर्वाचनको वातावरण बनाउन जनता र राजनीतिक दललाई अपिल गर्ने बताए । उनले एकता सन्देश सभाले सरकारलाई पनि निर्वाचनको गर्न प्रोत्साहन र दबाब दुवै सिर्जना हुने उनको दाबी छ । हाल देखापरेको असहज परिस्थितिलाई सहज बनाउन आफूहरु अगाडी बढ्ने उनले बताए ।

उनले भने, ‘हामीले पार्टी एकता सन्देशसभा भनेर पर्सी १२ गतेदेखी धनगढीबाट सभाहरु सुरु गर्देछौँ र विराटनगरसम्म पुग्दैछौँ । त्यहाँ हामी लाखौँ नेपाली जनतालाई एकताको सन्देश प्रवाहित पनि गर्नेछौँ र निर्वाचनको निम्ति वातावरण बनाउन जनतलाई अपिल पनि गर्नेछौँ । राजनीतिक दलहरुलाई अपिल गर्नेछौँ । सरकारलाई निर्वाचनको वातावरण बनाउन गम्भिर पहलको निम्ति हामीले एकातिर उत्प्रेरित गर्नेछौँ भने अर्कोतिर कहिँ न कहिँ दबाब पनि सृष्टि गर्नेछौँ । र देशमा अहिले देखापरेको असहज परिस्थितिलाई सहज बनाउन हामी अगाडी बढ्नेछौँ ।’ उनले देशभक्त वामशक्तिहरु नेपाली कम्युनिष्ट पार्टीमा गोलबन्द हुँदै जाने पनि बताए । उनले नेपाली कम्युनिष्ट पार्टीमा युवाहरुको आकर्षण रहेको पनि दाबी गरे ।

यथास्थितिको चुनावले निकास दिन्न, तैपनि भाग लिन्छौं : राप्रपा

काठमाडौं । फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । मंगलबार पार्टीले निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाएका छन् ।

यद्यपि यथास्थितिमा हुने निर्वाचनबाट देशले निकास नपाउनेमा राप्रपा प्रस्ट रहेको प्रवक्ता श्रेष्ठले उल्लेख गरेका छन् । ‘यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा प्रस्ट छौँ,’ उनले भनेका छन्, ‘तथापि एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने भएकाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हाम्रो दल राप्रपा दर्ता भएको छ ।’ निर्वाचन आयोगले बुधबार (भोलि) सम्म दल दर्ताको समयावधि तोकेको छ । सो क्रममा दलहरूले दल दर्ताको काम अघि बढाएका हुन् ।

आयोगमा ६२ भन्दा बढी दल दर्ता भइसकेका छन् । राप्रपाले दल दर्ता गरेसागै यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव नभएको पनि बताएको छ । प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने भएकाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हाम्रो दल राप्रपा दर्ता भएको छ ।’

संसद विघटनविरुद्ध सर्वोच्च पुग्यो एमाले, कांग्रेस के गर्ला ?

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा आज रिट दिएको छ । निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधि सभा पुनर्स्थापना रिट सर्वोच्चमा पेस गरिएको र अध्ययनका क्रममा रहेको बताए । ‘हामीले रिट पेस गरिसक्यौं, अध्ययनको क्रममा छ, बेलुकीसम्म दर्ता होला,’ उनले भने । एमालेले प्रतिनिधि सभा पुनस्र्थापनाका पक्षमा उभिन नेपाली कांग्रेसलाई पनि आग्रह गरेको थियो । तर कांग्रेसले यसमा ‘ग्रिन सिग्नल’ दिएन । कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दिने कि नदिने भन्नेबारे पार्टी टुंगोमा पुगिसकेको छैन ।

‘प्रतिनिधि सभा पुनर्स्थापना रिट निवेदन दिने कि भन्नेबारेमा कानुन व्यवसायीहरूसँग छलफलमा त छौं तर पार्टीले कुनै निर्णय दिइसकेको छैन,’ घिमिरेले भने । घिमिरेकै अगुवाइमा विघटित प्रतिनिधि सभाका कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि हस्ताक्षरसमेत संकलन गरेका थिए । ८८ जना निवर्तमान सांसदमध्ये जम्मा ४५ जनाले मात्रै हस्ताक्षर गरेका थिए भने शीर्ष नेताहरू कसैले पनि हस्ताक्षर गरेका थिएनन् ।

घिमिरेले पार्टी केन्द्रीय समिति बैठक चलिरहेका बेला पार्टीलाई प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा उभिन दबाब दिनका लागि भन्दै त्यसबेला हस्ताक्षर संकलन गरिएको बताएका थिए । तर कांग्रेस केन्द्रीय समिति बैठकले फागुन २१ को निर्वाचनमा भाग लिने निर्णय गर्दै निर्वाचन आयोगमा मंसिर ७ गते नै दल दर्ता गरिसकेको छ । एमालेले पनि आज निर्वाचन प्रयोजन निम्ति दल दर्ता गरिसकेको छ । चुनाव प्रयोजनका निम्ति दल दर्ता गरेको एमालेले प्रतिनिधि सभा पुनस्र्थापना माग गर्दै सर्वोच्चमा रिट पनि दिएको छ । तर कांग्रेसले रिट दिने वा नदिनेबारे अहिलेसम्म निर्णय लिएको छैन । ‘पार्टी केन्द्रीय समितिले आम निर्वाचनमा भाग लिने र त्यसका लागि दल दर्ता गर्ने निर्णय गरेको अवस्थामा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सर्वोच्च जाने कि नजाने अन्योल छ, यसबारे पार्टीले कुनै निर्णय दिइसकेको पनि छैन,’ घिमिरेले भने । प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर संकलन गर्दा आफूसँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का रिसाएको पनि उनले बताएका थिए ।

२०४८ सालदेखि अहिलेसम्म ७ पटक संसद विघटन भएको भन्दै घिमिरेले ‘प्रतिनिधि सभा विघटन हुँदा हरेक पटक नेपाली कांग्रेस त्यसका विरूद्ध अदालत गएको र राजनीतिक रूपले सडकमा गएको’ बताएका थिए । ‘चाहे त्यो गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा गरेको बेला होस् चाहे २०५९ मा शेरबहादुर देउवाले गरेको बेला किन नहोस्, त्यसबेला पनि कांग्रेस प्रतिनिधि सभा विघटन विरूद्धमा गएको थियो,’ घिमिरेको भनाइ छ ।

सभामुख देवराज घिमिरेले पनि प्रतिनिधि सभा पुनस्र्थापनाका लागि सर्वोच्चमा रिट दिने विषयमा कांग्रेस र एमालेका निवर्तमान प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। मंसिर १ गते भएको छलफलमा कांग्रेसका घिमिरेले आफूहरू प्रतिनिधि सभा पुनस्र्थापनाका पक्षमा रिट लिएर जाने पक्षमा नरहेको कुरा राखेका थिए । कांग्रेस केन्द्रीय समितिले भने वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गरेको थियो । ‘नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ । निर्वाचन मार्फत् नै संविधानको रक्षा तथा जेन–जेड प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास रहेको छ,’ कांग्रेसको निर्णयमा उल्लेख छ । मंसिर ६ गते बसेको केन्द्रीय समिति बैठकले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो ।

‘२०८२ साल माघ ११ गते आइतबारको दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र २०८२ साल फागुन २१ गते बिहीबारको दिन हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘नेपाली कांग्रेस’ लाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गर्दछ । सो प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानून बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ,’ भन्ने निर्णय गरेको थियो ।

विभिन्न राजनीतिक दलहरूको आह्वानमा जनताले धैर्य, संघर्ष र त्यागका माध्यमबाट स्थापित गरेको संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकास साझा जिम्मेवारी रहेको भन्दै यसका लागि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक रहेको निचोड केन्द्रीय समितिले निकालेको थियो ।

‘संसद विघटनको उपक्रम संविधानको परिकल्पना तथा सम्मानित अदालतको व्याख्या विपरीत छ। संसद विघटन असंवैधानिक छ । यस कदमले लोकतान्त्रिक उपलब्धि जोखिममा पारेको छ। संविधानभित्रै समाधान सम्भव छ भन्ने कांग्रेसको दृढ विश्वास छ’ भन्दै कांग्रेसले अहिले अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो विषय राजनीतिक मात्र नभई संवैधानिक पनि भएको र सर्वोच्च अदालतमा यो विषय विचाराधीन रहेकोले सर्वोच्च अदालतबाट अन्तिम व्याख्या हुनेछ भनेको छ । भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वमा भदौ २७ गते सरकार गठन भएको थियो । प्रधानमन्त्री नियुक्त भएलगत्तै कार्कीले राष्ट्रपति भवन शीतल निवासमै मन्त्रिपरिषद बैठक गरेर प्रतिनिधि सभा विघटन सिफारिस गर्दै फागुन २१ मा चुनाव मिति तय गरेकी थिइन् ।

 

एमाले महाधिवेशन तयारीका लागि गठित समितिहरू सक्रिय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठित विभिन्न समितिले आफ्नो कामलाई गति दिएका छन् ।

एमालेको यही मङ्सिर ४ गतेको केन्द्रीय सचिवालयको ६०औँ बैठकले विभिन्न १४ समिति गठन गरेको थियो । यसबीचमा जनपरिचालन समिति र प्रचार कमिटीको बैठक भई आफ्नो कार्ययोजनमाथि छलफल गरी कार्यविभाजन गरेको छ । नयाँ नेतृत्व चयनमा केन्द्रित हुने एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

जनपरिचालन समितिको संयोजक पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा सोमबार बसेको बैठकले महाधिवेशनको उद्घाटन सत्र (भदौ २७ गते) पालिका र वडा तहसम्म व्यापक जनसहभागिताका लागि कार्ययोजना पारित गरेको बागमती प्रदेश इन्चार्ज तथा जनपरिचालन समितिका सचिव डा राजन भट्टराईले जानकारी दिएका छन् । सोमबार नै प्रचार समितिको बैठकले महाधिवेशनको ऐतिहासिक महत्व र पार्टीको नीतिका आधारमा सामाजिक सञ्जाल र आमसञ्चारमाध्यममा प्रचारप्रसारका लागि योजना बनाएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

महाधिवेशनका लागि देशभर एकै दिन यही मङ्सिर १३ गते प्रतिनिधि चयनको निर्णय गरेको एमालेले चयन प्रक्रियालाई व्यवस्थिति बनाउन पाँचबुँदे निर्देशन दिएको छ । पार्टीका स्थायी कमिटी सदस्य एवं सङ्गठन विभागका प्रमुख काशिनाथ अधिकारीले प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रुपमा प्रकाशन गर्नुपर्ने बताएका छन् । यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ ।

यसैगरी कायम भएको अन्तिम मतदाता सूचीको सङ्ख्या केन्द्रीय सङ्गठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ । यस्तै मङ्सिर १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा मङ्सिर १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी गरिएको छ । विभागको यो निर्देशनले कुनै पनि बहानामा मङ्सिर १३ गते गर्नुपर्ने प्रतिनिधि छनोटलाई नसार्न निर्देशन गरेको छ ।

विभागले प्रतिनिधिमा उम्मेदवारी शुल्क बढीमा रु एक हजारभन्दा बढी नलिन पनि निर्देशन दिएको छ । प्रतिनिधि छनोटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेताहरुलाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनोट प्रक्रियामा सहजीकरण गर्न पनि विभागले निर्देशन दिएकोे छ । एमालेको महाधिवेशनमा आयोजक, निर्वाचन क्षेत्रीय कमिटी ९खुल्ला०, जनसङ्गठन, युवा, दलित, महिला, प्रवास क्षेत्रबाट समेत गरी करिब दुई हजार २०० प्रतिनिधि सहभागी हँुदैछन् ।

एमालेले आम पार्टी सदस्यबाट निर्वाचित हुने भूगोल, दलित, उपत्यका विशेष र सम्पर्क समन्वयअन्तर्गतका निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा शेष सङ्ख्या ५० प्रतिशतभन्दा बढी भएमा थप एक जना प्रतिनिधि चयन गर्ने निर्णय पनि गरेको छ । प्रवासी नेपाली सङ्घ भारत र प्रवासी नेपाली सङ्घ अन्तरराष्ट्रिय कमिटीबाट प्रदेश कमिटीसरह कम्तीमा दुई महिलासहित पाँच जना चयन गर्ने तय गरेको छ ।

एमालेले १६५ सङ्घीय निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी समावेशिताको सिद्धान्तअनुसार एक हजार १३५ प्रतिनिधि सहभागी हुनेछन् । हरेक निर्वाचन क्षेत्रमा रहेका एक हजार २०० पार्टी सदस्य बराबर ४० वर्षमुनिका एक युवा र एक महिलासहित चार प्रतिनिधि हुने एमालेका केन्द्रीय कार्यालय सचिव डा अधिकारीले जानकारी दिएका छन्। उनले न्यूनतम एक हजार २०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप एक महिला प्रतिनिधि र त्यसपछि प्रत्येक आठ÷आठ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुनेछन् ।

निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्छ : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले समान जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय-प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने माग गरेको छ । जनसंख्याका आधारमा प्रतिनिधित्व लोकतन्त्रका मूल आधार भएको भन्दै दलित र महिलाहरूका लागि न्यायोचित प्रतिनिधित्व र सामाजिक न्यायको प्रत्याभूति गराउन उनीहरूका लागि छुट्टै आरक्षित संसदीय-प्रादेशिक निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने पार्टीको धारणा रहेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

‘जसपा नेपालले राष्ट्रिय सभालाई प्रादेशिक जनसंख्याको आधारमा समानुपातिक समावेशी हुने गरी हाउस अफ नेस्नालिटिज बनाउनु पर्ने प्रस्ताव राखेको छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने तथा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालिको व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसदको व्यवस्था गर्नुपर्ने जसपा नेपालको माग छ,’ बस्नेतले भने । त्यस्तै पार्टीले भौगोलिक रूपमा अत्यन्त विकट रहेको हिमाली क्षेत्रको न्यायोचित प्रतिनिधित्व सुनिश्चत गर्नुपर्नेमा जोड दिएको छ । जसपा नेपालले स्थानीय तहलाई प्रादेशिक क्षेत्राधिकार अन्तर्गत राख्न र स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गर्ने व्यवस्था हुनुपर्ने जनाएको छ ।

प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न ‘जेनजी फ्रन्ट’को माग

काठमाडौँ । नेपाल जेनजी फ्रन्टले प्रवासी नेपाली नागरिक तथा देशभित्र गृहजिल्ला बाहेकका जिल्लामा बसोबास गरिरहेका नेपालीलाई मताधिकारको व्यावहारिक पहुँच प्रदान गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगलाई मागपत्र बुझाएको छ ।

फ्रन्टका अभियान समिति सदस्य अमृता वन, कर्णाली प्रदेश सम्पर्क व्यक्ति बिनिता बोगटी, फ्रन्टका सदस्य ऋषि थापा, नवीन विष्ट, आदर्श कर्ण, डायमण्ड शाहीलगायतले आयोगमा उपस्थित भई मागपत्र बुझाएका हुन् । मागपत्र बुझाएपछि कर्णाली प्रदेश सम्पर्क व्यक्ति बोगटीले आयोगलाई आफूहरुले उक्त मागपत्र बुझाएको बताएका छन्।

सरकारले कानुनी तथा प्राविधिक जटिलताको बहानामा संवैधानिक हकबाट वञ्चित गर्न नहुने मागपत्रमा उल्लेख छ । आगामी प्रतिनिधिसभा निर्वाचनदेखि नै प्रवासी नेपालीलाई मतदान गर्न पाउने व्यवस्था तत्काल लागू गर्नुपर्ने उनीहरुकोे माग छ ।

सिंहदरबार गेटबाटै निकालिएका मिराज समूहले कालोपट्टी बाँधेर थाल्यो प्रदर्शन

काठमाडौं । ‘गरिखान देऊ’ नामक आन्दोलनको नेतृत्व गर्दै आएका मिराज ढुंगाना र उनका सहयात्रीहरूले मंगलबार बिहान सिंहदरबार परिसरमै प्रदर्शन थालेका छन् । प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर मागपत्र बुझाउने योजना बनाउँदै सिंहदरबार पुगेको समूहलाई प्रहरीले प्रवेशद्वारमै रोकिदिएपछि उनीहरूले कालोपट्टी बाँधेर विरोध सुरु गरेका हुन् ।

सिंहदरबार छिर्न खोज्दा केहीबेर आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो । प्रवेशमा कडा रोक लगाएपछि प्रहरी टोलीले मिराज समूहलाई धकेल्दै अनामनगरस्थित पुर्वेली भान्छाघर आसपासको क्षेत्रतर्फ हटाएका छ । त्यही स्थानमा उनीहरूले पुनः कालोपट्टी बाँधेर विरोध जारी राखे, तर त्यहाँबाट अन्यत्र जान नमिल्ने प्रहरी निर्देशनलाई वेवास्ता गर्दै केही आन्दोलनकारी फेरि सिंहदरबारतर्फ फर्कने प्रयास गरिरहेको बताइएको छ ।

ढुंगाना नेतृत्वको समूहले आइतबार आन्तरिक बैठक गर्दै सोमबारदेखि निरन्तर आन्दोलनमा उत्रने निर्णय गरेका थिए । सोमबार पनि उनीहरूले सिंहदरबार छिर्न खोजे पनि सफल हुन सकेनन् र असन्तुष्ट हुँदै मागपत्र गेटमै टाँसेर फर्किएका थिए । मंगलबार भने ‘गिफ्तारी दिन तयार’ भन्दै पुगेको टोलीलाई प्रहरी रोक्न बाध्य भयो । अभियानका अगुवा हरिष भट्टका अनुसार मंगलबारको प्रदर्शन केवल मागपत्र बुझाउने उद्देश्य नभई सिंहदरबार गेटमै धरपकड स्वीकार गर्ने योजनाअनुसार गरिएको थियो । ‘माग पूरा नहुँदासम्म आन्दोलन निरन्तर हुन्छ’, भट्टले भने ।
८ बुँदे संयुक्त माग
मिराज समूहसहित अन्य जेनजी अभियान अगुवाले सिंहदरबार गेटमा टाँसेको संयुक्त मागपत्रमा यी प्रमुख मुद्दाहरू समेटिएका छन् :-
–तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित भदौ २३–२४ को घटनामा संलग्न सबै जिम्मेवार व्यक्ति पक्राउ गर्न ।
–संविधान संशोधनका लागि सर्वपक्षीय सरकार गठन गर्न ।
–घोषणा गरिएका निर्वाचन कार्यतालिका स्थगित गर्न ।
–सबै राजनीतिक दलका नेता, पूर्वसांसद तथा पूर्वमन्त्रीहरूको सम्पत्ति रोक्का गर्न ।
–शक्तिशाली भ्रष्टाचार निर्मूल आयोग तत्काल गठन गर्न ।
–सरकारी सेवामा दलीय कर्मचारी संगठन स्थायी रूपमा प्रतिबन्ध गर्न ।
–जेनजी निगरानी आयोग गठन गर्न ।
–शहीद तथा घाइते परिवारका सदस्यलाई तत्काल रोजगारी उपलब्ध गराउन ।

प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफन्तलाई सचिवालयमा नियुक्त गरेको आरोप सार्वजनिक भएपछि समूह थप आक्रोशित बनेको बताइएको छ । यही आक्रोश, विगतका राजनीतिक घटनाका दुःखद सम्झना र वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि मिसिँदै समूहको आन्दोलन दिनानु दिन उग्र बन्दै गएको छ। यसबीच, सिंहदरबार परिसरमा प्रहरीको बाक्लो उपस्थिति कायम छ । आन्दोलनकारीलाई रोकेर अनामनगरतर्फ पथप्रदर्शन गरिए पनि उनीहरूमध्ये केही फेरि मुख्य गेटतिरै फर्किन खोजिरहेका कारण स्थिति कुनै बेला पनि तनावग्रस्त बन्न सक्ने आकलन गरिएको छ।

 

 

एमालेका पूर्व सचिव नेकपामा प्रवेश

काठमाडौं । नेकपा एमाले दोलखाका पूर्व पार्टी सचिव र शैलुङ गाउँपालिकाका पहिलो अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शुक्रबार नेकपाका संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’ले उनलाई पार्टीमा स्वागत गरेका थिए । दुलालले एमालेबाट कम्युनिस्ट आन्दोलन अगाडि बढाउन नसकिने र वर्तमान अवस्थामा सबै कम्युनिस्ट शक्ति एक हुनुपर्ने कारण आफू नेकपामा लागेको बताए ।

दोलखामा प्रभावशाली नेता मानिने दुलाल दुई कार्यकाल एमाले जिल्ला सचिव बनिसकेका थिए । उनी ९ औं र १० औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बने पनि पराजित भएका थिए । स्थानीय तहको २०७४ को निर्वाचनमा उनी शैलुङ गाउँपालिकाका अध्यक्ष भारी मतले विजयी भएका थिए, जहाँ उनका विकास कार्य आज पनि उल्लेखनीय मानिन्छन् ।

 

 

उपरथी भण्डारीलाई दर्ज्यानी चिह्न

काठमाडौं । मन्त्रिपरिषद्को यही मंसिर ५ गतेको निर्णयअनुसार उपरथीमा विशेष बढुवा पाएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

‘निर्वाचनसँगै सुशासन कायम गर्नु यो सरकारको दायित्व हो’

देवदह (रुपन्देही) । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको पहिलो प्राथमिकता सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नु तथा सुशासनका निम्ति सबल आधार तयार गर्नु हो भनेका छन् ।

आज भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले निर्वाचन र सुशासनलाई नै अर्जुनदृष्टि दिएर सरकारले काम गरिरहेको बताएका छन् ।

केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढसुरक्षा योजना तयार गरी कार्यान्वयनमा जान सुझाव दिएका छन् ।

“राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदीबन्दीलाई सुरक्षा चुनौतीको रुपमा औँल्याउनुभएको छ, हामीले धेरै परिमाणमा विशेष अपरेशनमार्फत ती हतियार फिर्ता ल्याइसकेका छौंँ धेरै कैदी पनि फिर्ता भइसकेका छन्”, गृहमन्त्री अर्यालले भनेका छन् ।

सङ्घीय गृह मन्त्रालय, लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउनुपर्नेमा जोड दिएका छन् । उनले सुशासन कायम गर्न प्रदेश सरकार रणनीतिक योजना बनाएर अघि बढेको बताएका छन् ।

एमालेको एकै दिन दुई कदम : आयोगमा दल दर्ता, सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक मोर्चामा सक्रिय रहेको नेकपा (एमाले) ले आज (मंगलबार) एकै दिन दुई महत्वपूर्ण कदम चालेको छ । एमालेले आजै सर्वोच्च अदालतमा संसद पुनःस्थापनाको माग गर्दै रिट दायर गरेको छ भने निर्वाचन आयोगमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराएको छ ।

मंगलबार निर्वाचन आयोगमा पुगेका एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले पार्टीको तर्फबाट दल दर्ताको निवेदन बुझाए । आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि एमालेलाई दर्ता नम्बर ९७१, राष्ट्रिय सभा निर्वाचनका लागि ९३९, र समग्र दल दर्ता क्रममा पार्टीलाई ६६औं स्थान दिएको आचार्यले जानकारी दिएका छन् । यसअघि सोमबार पार्टीले राष्ट्रिय निर्वाचन प्रयोजनका लागि प्रारम्भिक दल दर्ताको निवेदन पेस गरिसकेको थियो ।

यसैबीच, संसद विघटन असंवैधानिक भएको ठहर गर्दै पार्टी सर्वोच्च अदालत समेत पुगेको छ । प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले आजै अदालतमा निवेदन दर्ता गराए । मंसिर १ गते च्यासलस्थित मुख्यालयमा बसेको विघटित प्रतिनिधिसभाका एमाले सांसदहरूको बैठकले संसद पुनःस्थापनाका लागि कानुनी तथा राजनीतिक संघर्ष थाल्ने निर्णय गरेअनुसार आवश्यक कागजात र परामर्श पूरा भएपछि एमालेले रिट दायर गरेको बताइएको छ ।

पार्टीको तर्क अनुसार प्रधानमन्त्री सुशीला कार्कीलाई वर्तमान कानुनले औपचारिक हैसियत नदिने परिस्थितिमा संसद विघटन गर्नु संविधानविपरीत छ । यही आधारमा पुनःस्थापनाको माग गर्दै सर्वोच्चको ढोका ठटाइएको एमालेले बताएको छ । एकातिर संसद पुनःस्थापनाको कानुनी लडाइँ, अर्कातिर आगामी निर्वाचन सहभागिताका तयारी—दुई मोर्चामा सक्रिय एमालेले आजको दिनलाई राजनीतिक दृष्टिले विशेष रूपमा उपयोग गरेको देखिन्छ ।

लैङ्गिक हिंसा अन्त्य गर्न सबैको साझा प्रतिबद्धता आवश्यकः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यलाई समृद्ध समाज निर्माणको आधारका रूपमा अघि बढाउन सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा अझै पनि कुप्रथा, विभेदपूर्ण सोच र सामाजिक बन्धनका कारण लैङ्गिक हिंसा सहन बाध्य रहेको भन्दै यस्तो समस्या अन्त्य गर्न परिवारदेखि समुदाय र सरकारी संयन्त्रसम्मको सक्रिय भूमिका आवश्यक रहेकामा जोड दिएका छन् । संविधानले समतामूलक, समावेशी र सहभागितामूलक समाज निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उहाँले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनमा तोकिएका प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, हिंसा प्रभावितको उपचार, संरक्षण तथा पुनस्र्थापनाका उपाय थप प्रभावकारी बनाउनुपर्ने आवश्यक रहेको बताएका छन् ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले लैङ्गिक हिंसा अन्त्यलाई विकास र समृद्धिको मुख्य आधारका रूपमा लिएको जानकारी दिएका छन् । प्रदेश सरकारले लैङ्गिक समानता नीतिनिर्माण गरी कार्यान्वयनमा ल्याइसकिएको, जसले महिला, बालबालिका तथा लैङ्गिक अल्पसङ्ख्यकको विकास, संरक्षण र सशक्तिकरणलाई प्राथमिकता दिएको उनले उल्लेख गरेका छन् ।

यस्तै प्रदेश सरकारले निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि एक प्रतिशत आरक्षणको व्यवस्था गरी समावेशितालाई संस्थागत गर्दै लैङ्गिक समानताको अभ्यासलाई मजबुत पारेको मुख्यमन्त्री आचार्यले बताएका छन् । उनले १६ दिने अभियानले सबैलाई समानता, न्याय र सम्मानमा आधारित सभ्य, सुरक्षित तथा समुन्नत समाज निर्माणतर्फ अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

संसद पुनर्स्थापनाको मागमा एमालेका यस्ता छन् सात दावी

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्न माग गरेको छ । नेकपा एमाले संसदीय दल (विघटित प्रतिनिधिसभा) को तर्फबाट मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले ७ माग दाबीसहित रिट दायर गरेका हुन् । बर्तौलाका अनुसार विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा मुख्यतः ६ वटा मागदाबी गरिएको छ । एमालेले संसद् पुनर्स्थापना गरी प्रतिनिधि सभाको बैठक बोलाउन सभामुख तथा संसद् सचिवालयको नाममा परमादेश जारी गर्न समेत माग गरेको छ ।

यी हुन् एमालेको मागदाबी
–प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधान न्यायाधीश भइसकेको व्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको, धारा ७६ तथा धारा १३२(२) विपरीत गैर संवैधानिक तवरले नियुक्त भएका प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको हुँदा निजको प्रधानमन्त्री पदमा भएको नियुक्ति विरुद्ध अधिकार पृच्छाको आदेश जारी गरी पाउँ ।

– प्रधानमन्त्री पदमा सुशीला कार्कीलाई नियुक्ति गर्ने सम्माननीय राष्ट्रपतिज्यूको मिति २०८२ भदौ २७ को निर्णय, सोको आधारमा भएको प्रधानमन्त्रीज्यूको शपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदर गरी पाउँ । साथै विपक्षी प्रधानमन्त्री नियुक्त भएपश्चात् विपक्षीहरूबाट भए गरेका गैर कानुनी एवम् असंवैधानिक सम्पूर्ण काम कारबाही, निर्णय, नियुक्तिहरू समेत उत्प्रेषणको आदेशले बदर गरी पाउँ ।

– प्रधानमन्त्री सुशीला कार्कीको एकल सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट मिति २०८२ भदौ २७ गते गरिएको प्रतिनिधिसभा विघटनको निर्णय उत्प्रेषणको आदेशले बदर गरी २०८२ भाद्र २४ गते पछिको अवधिलाई शून्य अवधि मानी प्रतिनिधिसभा पुनर्स्थापनासहित सो दिन कायम रहेका राज्यका सबै अङ्ग, निकायहरू पूर्ववतरूपमा यथावत् सञ्चालनमा रहने गरी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गरी पाउँ ।

– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिई सकेको अवस्थामा नयाँ सरकार गठनको लागि संविधानको धारा ७६ बमोजिमको प्रक्रिया प्रारम्भ गर्नू भनी सम्माननीय राष्ट्रपतिज्यूको नाममा परमादेश जारी गरी पाउँ ।

– पुनस्र्थापित प्रतिनिधि सभाको बैठक बोलाउन आवश्यक व्यवस्था मिलाउनु भनी सम्माननीय सभामुख तथा संसद् सचिवालयको नाममा परमादेश जारी गरी पाउँ ।

– असंवैधानिक तवरले नियुक्त प्रधानमन्त्री श्री सुशीला कार्की र निज नेतृत्वको सरकारले गर्ने भनिएको प्रतिनिधिसभाको निर्वाचन समेत प्रतिनिधि सभा पुनस्र्थापना पश्चात् स्वतः औचित्यहीन भएकाले प्रतिनिधि सभाको निर्वाचनसँग सम्बन्धित सम्पूर्ण काम कारबाही प्रतिषेधको आदेश जारी गरी रोकी पाउँ ।

– विषय बस्तुको गम्भीरता र संबेदनशिलतालाई मध्यनजर गरी प्रस्तुत विषयमा शीघ्र निर्णय हुनु पर्ने भएको हुँदा प्रस्तुत रिट निवेदनमा विपक्षीहरूको लिखित जवाफ मगाई सुनवाइको मिति किटान गरी निरन्तर सुनुवाइ गराइ पाउँ ।

सिंहदरबार छिर्न खोज्दा मिराज ढुंगाना समूहको जेनजीलाई प्रहरीले हटायो (तस्वीरहरु)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । आज सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगानासहित जेनजीलाई प्रहरीले घकेल्दै अनामनगर पुल कटाएको थियो । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेका जेनजीहरुलाई प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले हटाएको जनाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले उनीहरुलाई भाटभटेनीबाट पनि परसम्म हटाइएको बताए ।

मंगलबार १२ बजे आसपास सिंहदरबार गेटअगाडि उनीहरूले निषेधित क्षेत्रमा भीड गरेर होहल्ला गरेको भन्दै प्रहरीले हटाएको हो । सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका उनीहरूलाई भेट्न नदिएको भन्दै मंगलबार गेटअगाडि जम्मा भएका थिए । ठूलो संख्यामा भीड जम्मा भएपछि प्रहरीले भित्र प्रवेश गर्न नदिई गेटबाट हटाएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

अहिले उनीहरू त्यही क्षेत्रमा जम्मा भएर प्रधानमन्त्रीसहितको आलोचना गरिरहेका छन् । प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठले जेनजीका नाममा आफ्ना परिवारका सदस्यलाई जागिर खुवाएको विषयमा प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेनजी समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमै होहल्ला गरेका थिए ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी ।

प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले दियो सर्वोच्चमा निवेदन

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदातलमा रिट निवेदन पेश गरेको छ । रिट दर्ताको प्रक्रियामा रहेको छ । प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहितको रिट निवेदन दिएको विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहितको रिट निवेदन दिएका छौं,’ बर्तौलाले भने ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार छाड्न बाध्य भएका थिए । उनको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसमा सुशीला कार्कीलाई २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेका हुन् । त्यसयता एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक बताउँदै आएको छ ।

 

निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल भएको दावी गरेका छन् । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशले आज भैरहवामा गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार सफल हुँदै गएको दाबी गरेका हुन् ।

जेनजी युवाले भाद्र २३ र २४ गते गरेको प्रदर्शनपश्चात् विषम परिस्थितिमा यो सरकार गठन भएको भन्दै उनले त्रासदिपूर्ण अवस्थालाई पार लगाउन सरकार सफल भएको बताए । ‘अहिले सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्वपूर्ण भूमिका छ । नत्र शान्ति सुरक्षाको सामान्य अवस्था सम्भव थिएन,’ गृहमन्त्री अर्यालले भने, ‘सुशासन प्रबद्र्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारले पूरा गर्छ ।’ उनले सरकारले सुशासन र निर्वाचनलाई मूलमन्त्र मानेर काम गरिरहेको बताए ।

‘विभिन्न बहाना गरेर चुनाव हुँदैन भन्ने र यो सरकारले चुनाव गर्न सक्दैन भन्ने कुरा कहीँ कतै सुनिएका छन् । सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ । दिइरहेको छ,’ अर्यालले भने । उनले वर्तमान सरकार कसैको निगाहामा नबनेको बताए । ‘हामी कुनै अपेक्षाले आएका होइनौँ र हाम्रो व्यक्तिगत इच्छाले आएका पनि होइनौँ,’ उनले भने, ‘देशको विशिष्ट अवस्थामा, शून्यतालाई चिर्नुपर्ने परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा हामी सरकारमा आएका हौं ।’ उनले आफूमा कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ नभएको पनि दाबी गरे ।

‘प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर सो हासिल गर्ने दिशामा सरकार केन्द्रीत छ । त्यसैले हामी सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा विगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौँ,’ गृहमन्त्री अर्यालले भने ।
छोराछोरी पुस्ताले कार्यसम्पादनको शैलीमा यत्रो प्रश्न उठाउँदा पनि नसच्चिने, एकले अर्कालाई दोषारोपण गर्ने, सहिलाई सहि र खराबलाई खराब नभनी आफ्नो अनुकुलतामा ब्याख्या गर्दै जाने हो भने फेरी अर्को दुर्घटना हुनसक्ने चेतावनी पनि उनले दिए । ‘अभिव्यक्ति दिइरहँदा यसतर्फ पनि सोच्न जरुरी छ,’ गृहमन्त्री अर्यालले भने ।

सरकारले निर्वाचन पूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चातका काममा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू बनाएको उनले बताए । केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढ प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने विश्वाससमेत उनले व्यक्त गरे । राजनीतिक दलहरूले लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औंल्याएको प्रसंगमा उनले धेरै परिणाममा विशेष अपरेसन मार्फत् लुटिएका हतियार फिर्ता ल्याइसकेको बताए। ‘ठूलो संख्यामा कैदीहरू पनि कारागार फिर्ता भैसकेका छन्,’ उनले भने ।

गोष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र समग्र देशमा सुशासन कायम गर्न र भ्रष्टाचारको जरो मूलबाट नै नियन्त्रण गर्न प्रदेश सरकारले पनि उत्तिकै काम गरिरहेको बताए । उनले फागुन २१ को चुनाव भयरहित वातावरणमा सम्पन्न गर्न पनि लुटिएका सबै हतियार फिर्ता हुनुपर्ने र बाहिर रहेका कैदी बन्दी पुन पक्राउ गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा गृह मन्त्रालयका सहसचिव सुरेश पन्थीले सबै तहका सरकार अहिले विशेष परिस्थितिमा रहेको भन्दै अहिलेको मुख्य कार्यभार देशमा शान्ति सुरक्षा कायम गरेर निर्वाचन सम्पन्न गर्नु रहेको बताए । उनले प्रदेशको समग्र सुरक्षा चुनौती पहिचान गर्दै यसका लागि आवश्यक रणनीती बनाएर काम गर्न गोष्ठी सहयोगी हुने विश्वास व्यक्त गरे ।

गोष्ठीमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु दान बहादुर कार्की, राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्री, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, नेपाली सेनाका मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति तथा उपरथी प्रेमबहादुर पुन, गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले लगायतको सहभागिता छ ।

 

प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न आयोग जाँदै एमाले

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । आज (मंगलबार) दिउँसो निर्वाचन आयोगमा पुगेर दल दर्ता गर्न लागेको एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गराइसक्नुपर्नेछ ।

सोमबारसम्म प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता भइसकेका छन्। प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा उठाइराखेको एमालेले आज दल दर्ता गर्न लागेको हो । प्रतिनिधि सभाको निर्वाचनका लागि दल दर्ताको समय बुधबारसम्मका लागि छ। राष्ट्रिय सभा निर्वाचनका लागि भने एमालेले यसअघि नै दल दर्ता गरिसकेको छ।

गगन थापालाई कल्याण गुरुङको जवाफ : कुनै हालतमा विशेष महाधिवेशन हुँदैन

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनबारे उत्पन्न मतभेद चरम बिन्दुतर्फ उन्मुख भइरहेका बेला महामन्त्री गगनकुमार थापाको पछिल्लो अभिव्यक्तिलाई संस्थापन पक्षले खुलेर प्रतिवाद गरेको छ । थापाले विशेष महाधिवेशन नै एक मात्र विकल्प भएको बारम्बार दोहोर्‍याइरहेका बीच केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले भने कुनै हालतमा विशेष महाधिवेशन नहुने बताएका छन् ।

महामन्त्री थापाले सोमबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीले सभापति शेरबहादुर देउवाकै हस्ताक्षरमा आगामी निर्वाचनमा जाने प्रश्न संवेदनशील भएको उल्लेख गरेका थिए । उनले विधानअनुसार विशेष महाधिवेशन बोलाएर नयाँ सभापति चयन हुने र नयाँ नेतृत्वकै सहमतिमा निर्वाचनमा जाने दाबी गरेका थिए । त्यसको भोलिपल्टै गुरुङले फेसबुकमै थापालाई शैलीगत प्रतिवाद गर्दै विशेष महाधिवेशनबारे बाहिर चलेको चर्चा ‘हल्ला मात्र’ भएको जिकिर गरे ।

गुरुङका अनुसार पार्टीको केन्द्रीय कार्यसमितिमा आजसम्म विशेष वा नियमित महाधिवेशनसम्बन्धी कुनै आधिकारिक प्रस्ताव दर्ता भएको छैन । उनले पार्टी विधानको धारा १७ (२) मा उल्लेखित प्रक्रिया लागू गर्न आवश्यक नियमावली–कार्यविधि नभएको, हस्ताक्षरहरूको प्रमाणीकरण नपुगेको र विशेष महाधिवेशनले सभापति तथा पदाधिकारीलाई हटाउने व्यवस्था नै विधानमा नलेखिएको स्पष्ट पारेका छन् । उनको तर्कमा विशेष महाधिवेशन बोलाउनुपर्ने परिस्थिति नै नबनेको र विधानले तोकेको ‘अविश्वासको प्रस्ताव’ वा सभापतिको राजीनामा बाहेक नेतृत्व परिवर्तनको बाटो खुला नरहेको उल्लेख छ ।

गुरुङले पाँच स्पष्ट कारणसहित विशेष महाधिवेशन असम्भव रहेको बताए । उनका अनुसार पार्टीले २०८२ फाल्गुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरिसकेको हुँदा अहिलेको सबै ध्यान निर्वाचन तयारीतर्फ हुने, संगठनभित्र विवाद बढाउने कदम नचाहिने र वर्तमान नेतृत्वकै हस्ताक्षरमा पार्टी चुनावमा जाने नै यथार्थ हो । पार्टी एकता जोगाउन विशेष महाधिवेशन ‘एक पनि हुँदैन, दुई पनि हुँदैन, तीन पनि हुँदैन’ भन्दै उनले दाबी थप कडा बनाएका छन् ।

यसैबीच, थापाले भने विधानअनुसार समयसीमाभित्र विशेष महाधिवेशन अनिवार्य हुने भन्दै पार्टी नेतृत्वलाई नपुगा नबुझा भन्दै आलोचना जारी राखेका छन् । उनका अनुसार सभापतिको हस्ताक्षरसम्बन्धी विवाद टुङ्ग्याउने सबैभन्दा वैधानिक उपाय विशेष महाधिवेशनबाटै सम्भव छ, जसले आगामी निर्वाचनको वैधानिकताको पर्खाल बलियो बनाउनेछ ।

दुवै पक्षका धारणा सार्वजनिक रुपमा तीव्र हुँदै गएपछि कांग्रेसभित्र विशेष महाधिवेशनको विषय सैद्धान्तिक–राजनीतिक विवादको मुख्य केन्द्रमा उभिएको छ । एकातिर ‘विधानअनुसार महाधिवेशन अपरिहार्य’ भन्ने समूह, अर्कातिर ‘पार्टी एकता र निर्वाचन तयारी प्राथमिक’ भन्दै विशेष महाधिवेशन खारेजको घोषणा । यही द्वन्द्वले आगामी दिनमा कांग्रेसको आन्तरिक राजनीति झनै तातिने संकेत गरिरहेको छ ।

थापाथलीस्थित बागमती नदी किनारामा बनेको पार्क, यस्तो देखियो

काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती करडोरस्थित नदी किनारमा निर्माण गरेको पार्क अन्तिम चरणमा पुगेको छ । पार्कको मंसिर १६ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पार्कमा अहिले व्यायाम गर्न मिल्ने एक्सरसाइज़ जोन, साना बच्चाहरूका लागि प्लेजोनका साथै बेन्च लगायत अन्य विभिन्न सामग्रीहरू राखिएका छन् । जसले गर्दा पार्क सुन्दर देखिएको छ ।

निर्माणको अन्तिम चरणमा रहेको सो पार्क वर्षाको समयमा भने बाढीको असर पर्न सक्ने जोखिम उस्तै छ ।

विराटनगर ‘मेनरोड’ को उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

विराटनगर । विराटनगर महानगरपालिका मेनरोड नजिक रहेको एक प्लाष्टिक उद्योगको गोदाममा आगलागी भएको छ । आज विहानबाट सुरु भएको भिषण आगलागी केहीबेर अघि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरिक्षक अनमोल खड्काका अनुसार वडा नियन्त्रण बाहिर गएको आगलागी नियन्त्रणका लागि विराटनगर महानगरपालिकाबाट दुई वटा र सुनसरीको दुहबीबाट एउटा वारुणयन्त्र, स्थानीय र सुरक्षा निकायले सहजीकरण गरेका थिए ।

प्रहरीका अनुसार सरस्वती प्लाष्टिक उद्योगको गोदाममा विहान एकाएक आगलागी भएपछि स्थानीयमा केही समय त्रास फैलिएको थियो । उद्योग नजिक थुपारिएको प्लास्टिकका फोहोरको डंगुरमा अचानक आगो सल्किएको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्लास्टिक फोहोर जलाउने क्रममा आगो अनियन्त्रित भएको थियो । निजी आवासतर्फ आगो फैलन नदिन विराटनगर महागनरपालिकाको दमकलसहित प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ ।

 

काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना झापामा पक्राउ

झापा । जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोली समेत बरामद गरेको छ। पक्राउ पर्नेमा दमक–६ प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देन, दमक–९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली–४ आइतबारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गए राति लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट प्रहरी नायब निरीक्षक कुमार सोमेस लामिछानेको कमाण्डमा खटिएको टोली र दमक इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको संयुक्त टोलीले दमक–८ मा डेरा गरी बसेका सरोज पुरीलाई कोठा बाहिर हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनको साथबाट ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान र १५ राउण्ड गोली बरामद भएको ब्यूरोले जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि उनलाई इलाका प्रहरी कार्यालयमा बुझाइएको थियो।

प्रहरीले सोधपुछ गर्दा पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ राखेको बयान दिएका थिए। त्यसैका आधारमा प्रहरीले लिङ्देनलाई घरमै पुगेर पक्राउ गरेको थियो। थप सोधपुछमा विश्व लिङ्देनले सो हतियार इलाम चुलाचुली–४ बस्ने पवन हाङसुङ्वालाई रु २० हजारमा बिक्री गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । पछि लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालयको संयुक्त टोली हाङसुङ्वाको बारीमा पुगेको थियो।

त्यहाँ खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाएर राखिएको अवस्थामा ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान तथा पाँच राउण्ड गोली पेस्तोलमै लोड गरिएको, खिया लागेको अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ । हाङसुङ्वालाई समेत नियन्त्रणमा लिएर दमकमा ल्याइएको छ । बरामद दुवै हतियार र २० राउण्ड गोलीसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।