`

हारलाई सङ्कल्पमा बदल्नुपर्छ: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशामा होइन, सङ्कल्पमा बदल्नुपर्ने बताएका छन्।

जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसको तयारीका सन्दर्भमा आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले संगठनले हारबाट सिकेर अझ सशक्त रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए।

उनले नियमित रूपमा बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको स्थानमा स्मृति दिवस मनाउँदै आएको उल्लेख गर्दै यस वर्ष पनि देशभर रचनात्मक कार्यक्रम सञ्चालन गर्न पार्टी कार्यालयले सर्कुलर जारी गरिसकेको जानकारी दिए।

महासचिव पोखरेलले “निर्वाचनमा हारको पीडा नभए माथि उठ्न सकिँदैन” भन्दै हारलाई निराशामा बदल्न नदिन पार्टी कमिटी र जनसंगठनहरूलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिए। “हरेकले फेरि जित्छन्, त्यसका लागि सङ्कल्प आवश्यक छ,” उनले भने।

उनले पछिल्लो निर्वाचन कुनै एक दलको मात्र हार नभई मुलधारका राजनीतिक शक्तिहरूका लागि चुनौती भएको टिप्पणी गरे। “यो नेपालका मूलधार दलहरूको पनि चुनौती हो,” उनले भने।

पोखरेलले पार्टी जीवनमा विभिन्न तरंग र चिन्ता स्वाभाविक हुने उल्लेख गर्दै पार्टी कमिटी र जनसंगठनहरूलाई नियमित गतिविधिमा केन्द्रित हुन आग्रह गरे। उनले निराशालाई आशामा बदल्ने जिम्मेवारी संगठनको भएको स्पष्ट पारे।

उनले पार्टीभित्रका विषय बाहिर छलफल गर्दा समाधानभन्दा बढी निराशा बढ्ने भन्दै आवश्यक सुझावहरू पार्टी संरचना भित्रै दिनुपर्ने बताए। कार्यक्रममार्फत जाने सन्देश महत्वपूर्ण हुने भएकाले सबै तहका संगठनलाई रचनात्मक गतिविधिमा केन्द्रित हुन निर्देशन समेत दिए।

बैठकमा पार्टी सचिव तथा जनसंगठन समन्वय संयोजक भानुभक्त ढकाल, पार्टी सचिव तथा राजधानी विशेष प्रदेश इन्चार्ज डा. राजन भट्टराई, विभिन्न जनसंगठनका अध्यक्षहरू, राजधानीका पार्टी कमिटी तथा सम्पर्क कमिटीका अध्यक्षहरूको सहभागिता रहेको थियो

सदनमा बादल गर्जिए : ‘रास्वपाको उदेश्य एकल नेतृत्वद्वारा कथित निलो क्रान्तिलाई पूर्णता दिनु हो’

काठमाडौं। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वैचारिक आधारमा स्थापित दल नभई अस्थायी राजनीतिक गठजोड मात्र भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले रास्वपा आकस्मिक रूपमा उदाएको र महत्त्वाकाङ्क्षी समूहहरूको मिश्रण भएको दाबी गरे ।

उनले भने, ‘प्रतिनिधि सभा तथा सङ्घीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी गर्‍यो। यसको राजनीतिक लक्ष्य राज्यको प्रशासन तन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो।’

उनका अनुसार यस्तो रणनीतिक लक्ष्यका बाबजुद पनि रास्वपा आफ्नो उद्देश्यमा सफल भएको टिप्पणी गर्नु उचित नहुने तर्क गरे ।

उनले भने, ‘रास्वपाको सफलता देश र जनताको लागि दशकौँदेखि अतुलनीय योगदान, बलिदान तथा विलक्षण प्रतिभा एवं क्षमताबाट प्राप्त गरेको कदापि होइन।’

बादलले रास्वपाको उदयलाई आन्तरिक कमजोरी, प्रविधिको प्रभाव र बाह्य राजनीतिक परिस्थितिसँग जोड्दै व्याख्या गरे ।

उनले भने, ‘यो सफलता त दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम थियो।’

उनले रास्वपाको दीर्घकालीन राजनीतिक लक्ष्यबारे पनि टिप्पणी गर्दै भने, ‘रास्वपाको राजनीतिक लक्ष्य आगामी स्थानीय, प्रदेश तथा राष्ट्रिय सभामा एकल नेतृत्व स्थापित गर्नु हो। यो लक्ष्य हासिल गरे पश्चात् नै रास्वपाको कथित निलो क्रान्तिले पूर्णता प्राप्त गर्न सक्दछ।’

रास्वपा अराजक जमातको अस्थायी गठजोड : एमाले

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वैचारिक आधारमा स्थापित राजनीतिक दल नभई विभिन्न अराजक समूहहरूको अस्थायी गठजोड भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपा आकस्मिक रूपमा उदाएको ‘अति महत्त्वाकाङ्क्षी समूहहरूको अस्थायी संयोजन’ भएको दाबी गरे।

उनका अनुसार रास्वपाले सरकारमा पुगेर अधिवेशन स्थगन गरी अध्यादेशमार्फत शासन चलाउने अभ्यास गरेको छ, जसको उद्देश्य राज्यको प्रशासन र न्याय प्रणालीमा एकल प्रभुत्व स्थापित गर्नु रहेको उनले आरोप लगाए।

‘अध्यादेशको माध्यमबाट राज्यका संरचनामा नियन्त्रण कायम गर्ने प्रयास गरियो र त्यसमा केही हदसम्म सफलता पनि प्राप्त भयो,’ बादलले भने।

उनले रास्वपाको उदय कुनै दीर्घकालीन वैचारिक संघर्ष वा जनआन्दोलनको परिणाम नभई विगतका सरकारका कमजोरीहरूको योगफल भएको टिप्पणी गरे। साथै, कृत्रिम बुद्धिमत्ता (एआई), अल्गोरिदम र बाह्य भू-राजनीतिक प्रभावहरूले पनि यसको उदयमा भूमिका खेलेको उनको दाबी थियो।

एमाले नेता बादलले रास्वपाको दीर्घकालीन राजनीतिक लक्ष्य स्थानीय, प्रदेश तथा संघीय तहमा एकल नेतृत्व स्थापना गर्नु रहेको आरोप लगाए। उनका अनुसार उक्त लक्ष्य पूरा भएमा मात्रै पार्टीले भनेको “निलो क्रान्ति” सफल हुने उनको विश्लेषण छ।

उनले राजनीतिक दलहरू वैचारिक स्पष्टता र संस्थागत अभ्यासमा आधारित हुनुपर्नेमा जोड दिँदै अस्थायी गठजोडहरूले लोकतान्त्रिक प्रणालीमा अस्थिरता ल्याउने चेतावनी पनि दिए।

प्रचण्डले रोष्ट्रमबाट के भने ? (पूर्णपाठ)

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारलाई संख्याको बलमा विधि र प्रक्रिया मिच्ने काम नगर्न चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले जनताले दिएको विश्वासलाई लोकतान्त्रिक प्रणाली र विधि बलियो बनाउन प्रयोग गर्नुपर्ने बताएका हुन्।

यस्तो छ पूर्णपाठ 

सम्मानीय सभामुख महोदय

जेनजी आन्दोलनपछिको नयाँ र असाधारण परिवेशमा सम्पन्न निर्वाचनवाट पूर्व प्रधानमन्त्रीहरु मध्ये एक्लै निर्वाचित भएर आज यो प्रतिनिधिसभाको बैठकको रोष्टममा उभिँदा मलाई केही असहज, केही गर्वसहित चुनौतिपूर्ण जिम्मेवारी महशुस भइरहेको छ । यस सन्दर्भमा मलाई निर्वाचित गर्ने रुकुम पुर्वका र हामी सबैलाई विजय गराउनुहुने आम नेपाली जनताप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु।

जनताबाट निर्वाचित भएर आउनुभएका सबै माननीय सदस्यहरुलाइ हार्दिक बधाइ र शुभकामना छ । हिजो सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको राष्ट्रीय स्वतन्त्र पार्टीले यो निर्वाचनमा झण्डै दुई तिहाईको सफलता पाएको छ । त्यसका लागि सभापति माननीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई मेरो विशेष बधाइ छ ।

प्रतिनिधि सभाको यो नयाँ भवनमा उभिएर सम्बोधन गर्दा मेरो स्मृतिमा इतिहासका क्रान्तिकालीन दिनहरुको याद आइरहेको छ । बाहरिबाट हेर्दा यो भवन सिमेन्ट इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौं सहीदको बलिदान रहेको छ । हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौं, आन्दोलन गर्‍यौ। हजारौंले शहादत वरण गर्नुभयो । यो भवनको जगमा त्यही शहादत छ । यसका हरेक भित्ता बलिदानले रंगिएका छन् । म इतिहासका ती सबै, सशस्त्र र शान्तिपूर्ण आन्दोलन एवं पछिल्लो जेन जी आन्दोलनसम्मका सहीद, वेपत्ता, घाइते योद्धा र अभियानकर्मीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु । वहाँहरुको परिवारजनप्रति श्रद्धा र सम्मान प्रकट गर्दछु । मलाई लाग्छ, त्यो महान वलिदानलाई बिर्सेको दिन यो भवन आफैं ढल्नेछ ।

निर्वाचन परिणामको हिसाबले निकै खुम्चिएपनि यो निर्वाचनका पक्षमा वातावरण बनाउन हाम्रो दलले खेलेको भूमिका नवनिर्वाचित सबै माननीय सदस्यहरुलाई अवगत नै होला भन्ने म ठान्दछु। परिणामका दृष्टिले सानो ठूलो जो–जे सुकै भएपनि संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको यो प्रतिनिधि सभामा महिला दलित, आदिवासी, जनजाति, मधेसी, मुश्लिम, थारु, उपेक्षित उत्पीडीत समुदाय र वर्गको इन्द्रधनुषी प्रतिनिधित्व मेरा लागि पार्टीको विजय भन्दा महत्वपूर्ण छ, महत्वपूर्ण रहनेछ ।

तपाईहरुमध्ये धेरैजसो सदस्य नयाँ हुनहुन्छ । आज जस्तो समावेशी र समानुपातिक प्रतिनिधित्व हिजो थिएन । प्रजातन्त्र आइसकेको भनिएको ०४८ सालको आम निर्वाचनपछिको संसदमा दलितको प्रतिनिधि जम्मा एक जना हुनुहुन्थ्यो । अहिले कति हुनुहुन्छ ? १७ जना । २०५१ र २०५६ मा त संसदमा एउटै पनि दलित प्रतिनिधि हुनुहुन्नथ्यो । २०४८ सालको संसदमा जम्मा ६ जना महिला हुनुहुन्थ्यो, ०५१ सालमा ७ र ०५६ मा १२ जना । अहिले कतिजना महिला हुनहुन्छ ? ९६ जना झण्डै सय । आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मुस्लिम, थारु, मधेशी र उत्पीडित वर्गका हकमा पनि तथ्यांक करिब यही हो ।

यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ । क्रान्तिले लेखिएको छ । पिठ्यूमा दुधे बालक र काँधमा बन्दूक बोकेका महिलाहरुको बलिदानले लेखिएको छ । मोल तोकिएका टाउकाहरुले लेखिएको छ । हामीले आफ्नो जीवनको सबैभन्दा उज्यालो समय अन्धकारसँग लडेर बितायौं । क्रान्ति, संघर्ष र बलिदान हाम्रा लागि शब्द थिएनन्, दैनिक जीवनचर्या थियो। क्रान्तिको त्यो मशाल हामीले आफ्नै रगतले बालेका थियौं । मैले त्यसै भन्ने गरेको छैन, यो सम्मानित संसदमा जसको प्रवेश भएपनि म आफैं प्रवेश गरेजस्तो लाग्छ । सामन्तवादविरुद्ध हामीले उठाएको बन्दूकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्नुहुन्थ्यो उत्पीडित समुदायका प्रतिनिधिहरु ? पार्टी जुनसुकै होस्, समावेशी र समानुपातिक प्रतिनिधिहरुप्रति गर्व गर्ने हक प्रचण्डलाई छ भन्ने म ठान्दछु ।

शान्तिप्रक्रियालगत्तै काठमाडौंका भित्ताहरुमा हामीले मधेशी हुनुको गर्व स्थापित गर्न अभियान सञ्चालन गरेका थियौं । काठमाडौंसँग मधेशले काठमाडौंमै आफ्नो पहिचान र आत्मसम्मानको यति निर्भिक दावी यसअघि कहिल्यै गरेको थिएन । बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ । पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जीत हो ।

मैले यो प्रसंग यसकारण पनि उठाएको हुँ कि क्रान्तिका उपलब्धिमा गर्व गरिरहेको यही समाजका केही पात्र आज पनि क्रान्तिको अपराधीकरण गर्न तल्लीन छन् । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुग्न नदिन अग्रसर छन् । मैले तपाईहरुलाई गणतन्त्रका फूल भनेको थिएँ। शान्तिप्रक्रियाको पूर्णता अब मेरोभन्दा पनि तपाईहरुको जिम्मेवारी हो ।

सभामुख महोदय,

‘पुराना नेता’ र ‘पुराना पार्टी’का नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् । र, त्यसमा प्रचण्डलाई पनि घिसार्न खोजिन्छ । त्यही हो त सत्य ? होइन । राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त त्यो झन् हुँदै होइन । अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख विपक्षी दलको नेताका रूपमा पनि रास्वपासँग दह्रो सहकार्य गरेँ । दह्रो सहकार्य । सरकारमा हामीले सुशासनका माध्यमबाट लोकतन्त्रको राम्रो सर्विसिङ सुरु गर्यौँ । सेवा प्रवाहको सरलीकरण र मेरिटोक्रेसीमा जोड दियौं । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रियादेखि भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानबाट हामीले विधिको शासन स्थापित गर्यौं । कानूनमाथि नै शासन गरिरहेका देशका सबैभन्दा ठूला माफियासँग हामी निडरताका साथ लड्यौं । पछि तिनैले देशको पहिलो र दोश्रो दल मिलाए । प्रतिपक्षका रुपमा हाम्रो संख्या सानो थियो । तर, त्यो सानो संख्याले दुईतिहाइको विशाल सत्तापक्षका हरेक बेथिति र विकृतिविरुद्ध लड्यो । दुई तिहाइको कुसाशन र अहङ्कारको हामीले प्रतिरोध गयौँ । यो पृष्ठभूमिमा सबै उस्तै हुन भन्ने भाष्य बिल्कूल गलत छ र म त्यसलाई पूर्णरुपमा खारेज गर्दछु ।

पुराना र नयाँ भनेर बनाइएको भाष्य दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले पनि गलत छ । सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो । पुराना र नयाँ भाष्यले परिवार, समाज र राजनीतिमा विभाजनको आधार मात्र खडा गर्दछ। सही र गलतको बहसले गति, रुपान्तरणसहितको नयाँ एकताको आधार खडा गर्दछ।

सभामुख महोदय,

अब म सरकारका एक महिनाका निर्णय र कार्यशैलीबारे केही आलोचनात्मक टिप्पणी गर्न चाहन्छु ।

१. सरकारले सविधान संशोधनका लागि छलफल सुरु गर्न खोजेको हो भने दस वर्षपछि संविधानको समिक्षा संविधानमैं उल्लेख छ । तर प्रष्ट हुनुपर्छ, कसका लागि संशोधन? कसका हितमा संशोधन ? हामी छलफलका लागि तयार छौं तर पारदर्शिताका साथ । संविधान संशोधन गरौं तर त्यो संशोधनले राष्ट्रीय एकता र राष्ट्रिय स्वाधिनता, नेपाली जनताको आत्मसम्मान र आत्मनिर्णयको अधिकार अझ मजबूत होस् । संविधान संशोधन गरौं तर त्यो संशोधनले लोकतन्त्र अझ मजबूत होस् । संविधान संशोधन गरौं जसले सीमान्त वर्ग, र क्षेत्रको प्रतिनिधित्व अझ बिस्तार गरोस् । संविधान संशोधन एकदमै संवेदनशील विषय हो। यसले ठूलो विवेक, संयम र छलफल माग गर्छ । कृपया यसलाई हलुका रुपमा नलिनुहोला।

२. नीति तथा कार्यक्रममा जसरी दलित, महिला, जनजाति, मधेशी, थारु, उपेक्षित उत्पीडित वर्ग, समुदाय र क्षेत्रलाई उपेक्षा गरिएको छ, सरकारका पछिल्ला गतिविधिहरु हेर्दा त्यो अस्वभाविक भने देखिन्न । हामीले क्रान्तिका उपलब्धिमा गर्व गरिरहँदा आज क्रान्तिको मुख्य आधार रहेको त्यही वर्ग भारी जनादेश प्राप्त सरकारको निशानामा परेको छ। हिजो निरंकुश राज्यसत्ताले हात्ती लगाएर गरीब सुकुम्वासीका छाप्रा भत्काउँथ्यो। बस्तीहरुमा आगो लगाउँथे। आज लोकतन्त्रमा जनताका घरबस्ती भत्काइएका छन् । लालाबालाहरुको बिचल्ली भएको छ । झरीमा रुझ्दै साना नानीहरु ओत लागिरहेका, बेहोस भएर ढलिरहेका आमालाई हेरेर चिच्याउँदै गरेका बच्चाहरुको आर्तनाद र आत्महत्याका भिडियोहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएका दृश्यले हिजो पञ्चायती निरंकुशताले जनतामाथि यही प्रकृतिको दमन गरेको झझल्को दिइरहेको छ ।

म सरकारसँग आग्रह गर्न चाहन्छु, गरीबहरु समृद्धिको बाधक होइनन् । सुकुम्वासीहरु विकासका अवरोध होइनन् । बिना कुनै योजना, बिना कुनै पूर्व तयारी जबर्जस्ती बस्ती खाली गरेर देशको मुहार फेरिन्न । जसको कोही हुन्न् उसको सहारा राज्य बन्नुपर्छ भनेर नै नेपाली जनताले लामो लडाई लडेर संविधानमा अधिकार लेख्न सफल भएका हुन। जबर्जस्ती उठिवास होइन, व्यवस्थित र वैज्ञानिक बाटोबाट भूमिामाथिको स्वामित्व, जीविकोपार्जन तथा बसोबासको ग्यारेन्टी गरेर मात्रै सुकुम्वासी समस्याको हल सम्भव छ । मेरो आग्रह छ, गणतन्त्र ल्याउन सबैभन्दा बढी योगदान गर्ने गरीब, मजदूर, किसान निमुखा वर्गलाई न्याय दिने अब तपाईहरुको जिम्मेवारी हो । जनतालाई उठिवास लगाएर, बिचल्ली पारेर लोकतन्त्रको सर्भिसिंग हुन्न । यसमा सरकारले गम्भीरतापूर्वक पुनर्विचार गरोस्।

३. सरकारको रोडम्याप लोकतन्त्रलाई बलियो बनाउने र इतिहासका संघर्ष र संघर्षका पात्रहरुलाई सम्मान गर्ने हुनुपर्दछ । संघर्षका उपलब्धिहरुलाई रक्षा गर्ने हुनुपर्छ । विद्यार्थी या निजामति राष्ट्र सेवकहरु वा कुनै पनि नागरिकलाई आफ्नो आवाज उठाउनबाट बञ्चित गरेर लोकतन्त्र बलियो हुन्न । जयतु संस्कृतम देखि पछिल्लो जेनजी आन्दोलनसम्म विद्यार्थीहरु नै राजनीतिक परिवर्तनको अग्रभागमा रहेका छन् । आज अस्तित्व नै नरहने किसिमले अब तिमीहरूको आवश्यकता छैन’, भन्यौं भने त्यो केवल अन्याय मात्र होइन, इतिहासप्रतिको अपमान र अवमूल्यन हुनेछ। विश्वविद्यायलयमा मेरिटोक्रेसी र शिक्षा क्षेत्रमा समग्र रुपान्तरण गरौं ।  मेरो पछिल्लो कार्यकालमा हामीले यसको सूरुआत गरेको हो । तर विद्यार्थी स्रगठनहरु यसको बाधक हुन भन्ने चिन्तन गलत छ । शैक्षिक क्षेत्रको बेथिति रोक्न, लोकतन्त्रलाई अझै अग्रगामी दिशामा विकास गर्न विद्यार्थीहरु अवरोध होइनन, बरु सहयात्री हुन। सुधार गर्नुपर्ने कुरा सुधारौं तर आवाज नै थुन्ने कदम स्वीकार्य हुन सक्दैन।

४. नेपालको संविधान तथा संयुक्त राष्ट्र संघको सदस्यका हैसियतले नेपालले गरेका विभिन्न सम्झौताहरुले समेत संगठित हुन पाउने अधिकारको रक्षा गरेको छ ।  श्रमिकहरुले आफ्नो हितको पैरवी गर्न पाउने व्यवस्थाका पक्षमा विश्वका कुनै पनि सरकारले छेको लगाएको छैन । आधुनिक लोकतन्त्रको मुख्य आत्मा नै ट्रेड यूनियन हुन । लोकतान्त्रिक मूल्यहरुको रक्षा र संविधानले परिकल्पना गरेको समाजवादोन्मुख नेपाल निर्माणका लागि उनीहरुको भूमिका महत्वपूर्ण छ । संसारभरिका क्रान्ति र परिवर्तनका इतिहासहरु श्रमिक आन्दोलनका गाथाले भरिएका छन् । म युवा सांसदहरुलाई यसबारे गम्भीरतापूर्वक अध्ययन र मनन गर्न आग्रह गर्न चाहन्छु । ट्रेड यूनियनलाई विशुद्ध पेशागत संगठनका रुपमा विकास गर्ने विधि र पद्धतीका बारेमा बहस गरौं । तर लामो संघर्षबाट प्राप्त अधिकार खोस्ने दिशामा अघि नबढौं । लोकतन्त्रका संस्थाहरुलाई हामीले नष्ट गर्ने होइन, निर्माण गर्ने हो। सुधार्ने र अझ सशक्त बनाउने हो । यही त लोकतन्त्रको सौन्दर्य हो।

५. विगतमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेको आन्दोलनपछि बनेको सरकारले संविधानप्रदत्त पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने काम गर्नु बिडम्बनापूर्ण छ। हिजो हामीले बोलेकै भरमा थुनिनुपर्ने परिस्थितको विरोध गर्यौ तर आज हामी मिडिया संस्थाहरुलाई नियमन गर्ने, कमजोर गर्ने अभ्यास गर्दैछौ। प्रश्नहरुबाट भागेर हैन प्रश्नहरुको जवाफ दिएर मात्रै लोकतन्त्रको विकास हुन्छ।

६. मेरो आग्रह छ, संख्याको दम्भमा विधि मिच्ने काम नहोस् । तपाईहरुलाई जनताले विश्वास गरेका छन् । त्यो विश्वास विधि बलियो बनाउनेतर्फ लगाउनुस्। आफैले बोलाएको संसद स्थगित गरेर जनप्रतिनिधिहरुलाई छलेर, एकपछि अर्को अध्यादेशमार्फत जे जसरी शासन चलाउनु खोज्नु भयो, जसरी प्रतिशोधको गन्ध आउने गरी धरपकडहरु सुरु गर्नुभयो, सरकारको आलोचना गर्नेहरुलाई थुन्ने काम गर्नुभयो, यो लोकतान्त्रिक पद्धती र प्रणालीका लागि कसरी स्वीकार्य हुन सक्छ ? हिजो पुराना दलहरु सबै उस्तै हुन, सबै खत्तम हुन भन्ने भाष्य निर्माण गरियो । तर आज तपाईहरु त्यही स्वेच्छाचारिता, प्रतिशोध, लोकतान्त्रिक मूल्यमा आघात गर्दै संसद् छल्ने कामगर्दै हुनुहुन्छ । सम्पत्ति विवरणबारे जनस्तरबाट प्रश्न उठेपछि त्यसको पारदर्शि जवाफको अपेक्षा जनताले गरेका थिए तर तपाईहरु त्यसलाई ढाकछोप गर्नतिर लाग्नुभयो । पत्रकार र युट्युबरहरूलाई आलोचना गरेकै आधारमा पक्राउ गर्नुभयो ।

७. सीमा क्षेत्रमा आफ्नो दैनिक जोहो गर्न भारतीय भूमिबाट घरायसी प्रयोजनका लागि सामान ल्याउँदा समेत त्यो कार्य सरकारका लागि राजस्व छली हुन पुग्यो । तर सीमाबाट हुँदै आएको ठूलो मात्राको तस्करी रोक्ने सरकारको रोडम्याप चाहिँ देखिएन। के साँझ बिहान छाक टार्न, दैनिक जीवन गुजारा गर्न सीमापारीबाट सामान ल्याएकै कारण नउठेको हो त राजस्व ? निमुखा गरीब जनतालाई सास्ती दिएर मात्रै राजस्व वृद्धि हुन्छ त ?

हामीले सरकारले सार्वजनिक गरेको रोडम्यापको स्वागत गर्यौं । सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा सरकारले विगतका असल अभ्यासहरुको निरन्तरता र नयाँ प्रयासहरु गर्न खोजेकोमा बधाई पनि भन्यौ। तर सरकार गठन भएको एक महिनामैं सरकारको सबैभन्दा ठूलो प्रहार गरिब निमुखा जनतामाथि भएको छ । चाहेँ सहरका सुकुम्वासी हुन या सीमावर्ती तराई मधेशका गरिब जनता । यो गम्भीर चिन्ताको विषय छ ।

सभामुख महोदय,

सम्माननीय राष्ट्रपतिज्यूबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम यस सम्मानित संसदमा प्रस्तुत भएको छ। तर जुन हतारोमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ र जुन परिपाटी अवलम्बन गरेका छौं त्यसबाट नीति तथा कार्यक्रममाथिको छलफल सधैँ एउटा कर्मकाण्ड मात्रै बन्न पुगेको छ ।

माननीय  सदस्यहरुलाई स्मरण नै होला, मेरो कार्यकालमा मैले नीति तथा कार्यक्रममाथि समावेशी र पर्याप्त छलफल गर्ने विधि र परिपाटी सुरु गर्न खोजेको थिएँ । नीति कार्यक्रम र बजेट कार्यतालिकामा परिवर्तन गरी नीति कार्यक्रममाथि सबैपक्षसँग व्यापक छलफल गर्ने, यहाँ माननीय संसदहरुका सुझाव समेतका आधारमा परिमार्जन गर्ने र सो का आधारमा नीति तथा कार्यक्रमलाई बजेटबाट समर्थन गर्ने गरी मैले अभ्यास शुरु गरेको थिएँ । त्यसो हुन सकेको भए नीति तथा कार्यक्रम कर्मकाण्डी बन्ने थिएन । तर त्यसलाई पछिल्लो सरकारले निरन्तरता दिएन । बिडम्बना, वर्तमान सरकारले त सीमित छलफललाई समेत झनै खुम्च्याएको छ । हाम्रो अहिलेको आवश्यकता क्रमभंगता हो । तदर्थवादी परिपाटीले हामीले जति नारा दिएपनि नयाँ परिपाटीको विकास गर्न सक्दैनौं । यसमा गम्भीर बन्न म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु।

सरकार गठनभएपछि सरकारले आफ्नो रोडम्याप सार्वजनिक गरेको थियो । विगतका कतिपय असल अभ्यास समेत समेटिएको उक्त रोडम्यापका केही विषयलाई हामीले स्वागत पनि गर्यौ। तर बिडम्बना सरकारको नीति तथा कार्यक्रमले भने सत्तारुढ दलको घोषणापत्र, सरकारले तयार पारेको रोडम्याप र राष्ट्रीय संकल्पपत्र या प्रतिवद्धतापत्रको स्पिरिट समात्न सकेको देखिन्न। यसले हाम्रा सामु विद्यमान समस्याहरुको सही पहिचान, विश्लेषण र सो को सम्बोधन गर्न जुन गम्भीरता र स्पष्टता बोक्नुपर्दथ्यो त्यो गर्न सकेन ।

हरेक वर्ष सुनिने उही कुराहरु फेरी दोहोर्याएर हाम्रा सामु रहेका आर्थिक तथा सामाजिक समस्याहरु हल गर्न सकिँदैनन । संरचनागत पक्षहरुलाई सम्बोधन नगरी, तीब्रतर आर्थिक विकासका लागि नयाँ प्राथमिकता र सम्भावनाहरुको पहिचान नगरी यथास्थितका नीति तथा कार्यक्रमले न त आर्थिक वृद्धि सम्भव छ न त लगानीको नै वातावरण बन्छ । नयाँ चरणको आर्थिक सुधारको विषय नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। तर त्यसलाइ समर्थन गर्ने रणनीतिक आधार तथा कार्यक्रमहरु भने नीति तथा कार्यक्रममा देखिदैनन् । सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष हासिल गर्नका लागि उत्पादन र उत्पादकत्व, रोजगारी लगायतका क्षेत्रमा सरकारको नीति तथा स्पष्ट कार्यक्रम आउनु पर्थ्यो । तर विषयगत तथा क्षेत्रगत रुपमा भने नीति तथा कार्यक्रमहरुमा भने निरन्तर प्रस्तुत भइरहने विषय मात्रै समेटिएका छन् ।

राजनीतिक अधिकार प्राप्त गर्न, सुशासन कायम गर्न र सामाजिक न्यायको स्थापनाका लागि सबैभन्दा पहिलो शर्त भनेकै हाम्रो आर्थिक प्रणालीमा आमूल परिवर्तन हो । अहिलेकै आर्थिक प्रणालीले हाम्रा संरचनागत समस्या हल गर्न सक्दैन। यस दिशामा सरकारले पर्याप्त गृहकार्य गर्नुपर्थ्यो तर यो अवसर गुमाउन पुगेको छ।

सरकार गठन भएपछि सत्तारुढ दलका सभापति तथा माननीय रवि लामिछानेले यसै रोष्टमबाट सम्पूर्ण दलित समुदायमाथि राज्यका तर्फबाट क्षमा माग्नुभयो । तर त्यो क्षमा सरकारका नीति तथा कार्यक्रममा कहिँ कतै पनि प्रकट हुन सकेन। दलित समुदायका सवालमा सरकार विगतका यथास्थितवादी सरकारहरु भन्दा पनि प्रतिगामी बन्न पुगेको छ। नीति तथा कार्यक्रमले दलित समुदायका लागि विशेषाधिकारको नीति लागु गर्न अधिकार सम्पन्न दलित विकास प्राधिकरणको आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन । न त दलित समुदायका रैथाने सीपको प्रवर्द्धनमार्फत उद्यमशीलता तथा अन्य विशिष्ट समस्याहरु सम्बोधन गर्ने कार्यक्रम नै समेटिएको छ।

बिडम्बना भनौं । जुन मधेशी जनताको सपनाहरुको जगमा यो सरकार बनेको छ। जुन मधेसी जनताले आफ्नै समुदायको व्यक्तिलाई प्रधानमन्त्री बनाउन मत दिए, ती मधेशी जनताका बारेमा सिँगो नीति तथा कार्यक्रम मौन छ । तराइ मधेश क्षेत्रको सिँचाइमा सुधार गरिनेछ भन्ने वाक्यांश बाहेक मधेशी जनताको सामाजिक, सांस्कृतिक तथा आर्थिक समृद्धि र पहिचानको विशिष्टतालाई सम्बोधन गर्ने कुनै पनि बुँदा नीति तथा कार्यक्रम छैन । मधेशले समग्र आर्थिक रुपान्तरण खोजेको छ । सामाजिक परिवर्तन खोजेको छ । सांस्कृतिक पहिचान खोजेको छ। तर सरकारको दस्तावेजमा सिँगो मधेश हराएको छ । मधेशी जनताका समस्या हराएका छन्। यो दुखद छ ।

सरकारको ४६ पृष्ठको नीति तथा कार्यक्रमले निजामति राष्ट्रसेवकहरुलाई नियमन र नियन्त्रण गर्ने विषय प्राथमिकतामा राख्यो तर दलित, मीटरब्याज पीडित, उपेक्षित उत्पीडित गरिब, जनजाति, सीमांतकृत वर्ग तथा समुदायका मुद्दाहरु देख्न सकेन । त्यस्तै मानव विकास सूकांकमा सबैभन्दा पछाडि परेको कर्णाली तथा सुदूरपश्चिम प्रदेशबारे नीति तथा कार्यक्रममा मौनता रहनु, गरीब र पिछडिएका जनताका पक्षमा सरकार नरहेको सन्देश गएको छ।

सभामुख महोदय

डिजिटलाइजेसनको सन्दर्भमा नीति तथा कार्यक्रमले कैयन पक्षहरु बलियोसँग सम्बोधन गरेकोमा सरकारलाई धन्यवाद छ । मेरै कार्यकालमा सूचना तथा प्रविधिलाई रणनीतिक प्राथमिकतामा राखेर आइटी दशकको घोषणका साथै सार्वजनिक सेवा प्रवाहलाई पूर्ण डिजिटलाईजेसन गर्नका लागि तयार भएको तर कार्यान्वयन हुन नसकेको इ–गभरन्नेन्स ब्लूप्रिन्टको कार्यान्वयन, एकद्वार सेवा प्रणाली, हरेक सार्वजनिक सेवालाई डिजिटल प्रणालीमार्फत प्रवाह गर्ने विषयहरु स्वागतयोग्य छन । तर आर्थिक रुपान्तरण तथा सामाजिक न्यायका महत्वपूर्ण विषयहरुमा स्पष्टता नहुँदा र यी विषयहरुले सरकारले दावी गरेकै स्पीरिट समात्न नसक्दा एकांकीरुपमा विकास हुने डिजिटल प्रणालीले डिजिटल डिभाइड मात्रै बढाउँछ। डिजिटलाइजेसन र उत्पादन तथा उत्पादकत्व वृद्धि, डिजिटलाइजेसन र सामाजिक न्याय, समानान्तररुपमा विकास गर्न सके मात्रै यसले सही परिणाम दिन सक्छ।

मैले सरकारको आलोचना गर्ने आशयमा यी विषयहरु उल्लेख गरेको होइन । तर जनताको सरकारप्रति जुन आकांक्षा छ त्यो अनुरुप नीति तथा कार्यक्रम आउनुको साटो मन्त्रालयहरुका नियमित कार्यक्रमहरुको सारसंग्रहका रुपमा यो प्रस्तुत भएकोमा मेरो चिन्ता हो। म यो विषयलाई गम्भीरतापूर्वक अध्ययन गर्न, विगतका नीति तथा कार्यक्रमहरुको आलोकमा यसको तुलनात्मक अध्ययन गर्न र वर्तमान विशिष्टतामा जनताका आकांक्षा सम्बोधन गर्नैगरी यसलाइ परिमार्जन गर्न सबै माननीयहरुलाई आग्रह गर्दछु ।

सभामुख महोदय,

राजनीतिक यात्राको अत्यन्त उतारचढावपूर्ण मेरो अनुभवले भन्छ, हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ । यो संसदमा रास्वपासँग करिब करिब दुई तिहाइको विशाल बहुमत छ । यो विशाल बहुमतलाई जनताको विशाल जिम्मेवारीका रूपमा ह्यान्डल गर्नुपर्छ, यसलाई अहङ्कारको मलखाद बन्न दिनु हुँदैन। नेकपाका रूपमा हामी यही संसदमा करिब तपाईँहरूकै साइजमा थियौँ, केही वर्षअघि। जनताको त्यो विश्वास हाम्रो आफ्नै कमजोरीको सिकार भयो । सङ्ख्या कहिल्यै स्थायी हुँदैन, न त जनताको समर्थन निःशर्त हुन्छ। त्यो हामीबाट सिक्नोस्, इतिहासबाट सिक्नोस् ।

यो सम्मानित संसद लोकतन्त्रको आधारस्तम्भ मात्र होइन, नागरिक सम्प्रुभताको सबैभन्दा ठूलो प्रयोग स्थल हो । यहाँ निषेध, अपमान र प्रतिशोध होइन कि सहमति, सहकार्य र आपसी विश्वासले प्राथमिकता पाउनुपर्छ । हाम्रो भूराजनीतिक अवस्थितिले ठूलो विवेक र संयमको माग गर्छ ।

राष्ट्रिय स्वाधिनताको रक्षा र सुदृढिकरणको प्रश्न हामी नेपालीको लागि आज सर्वाधिक संवेदनशील र महत्वपूर्ण प्रश्नका रुपमा उभिएको छ । हाम्रो भूराजनीतिक अवस्थितिका कारण विभिन्न शक्तिकेन्द्रहरुका दबाब र हस्तक्षेप बढदो छ । सार्थै हाम्रो प्राकृतिक श्रोत साधन जसमा युरेनियम जस्तो बहुमुल्य खनिज पदार्थ पनि पर्दछ तिनमा आफ्नो नियन्त्रणका लागि समेत शक्ति केन्द्रहरु लाग्न सक्दछन् । यस्तो संवेदनशील परिस्थितिमा सम्पूर्ण देशभक्त नेपालीहरु आफ्नो राष्ट्रिय हित, आत्मसम्मान र संशाधनको रक्षा गर्न एकजुट हुनुपर्ने ऐतिहासिक आवश्यकता छ।

विपक्षी दलका रुपमा हामी तपाईहरुको कमजोरीको प्रतिक्षामा छैनौं । जनताले सुम्पेको जिम्मेवारी पुरा गर्नोस्, साथ र समर्थन रहन्छ । राष्टनिर्माण सामूहिकताबाट मात्र सम्भव छ। सरकार र संसदका सबै सदस्यलाई सफल कार्यकालको हार्दिक शुभकामना छ । धन्यवाद।

३९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार घटेको छ। यस दिन नेप्से परिसूचक ३९.४४ अंक (१.४१ प्रतिशत) ले घटेर २७४४ अंकमा पुगेको छ।

अघिल्लो दिन सोमबार भने बजार ३८.१९ अंक (१.३९ प्रतिशत) ले बढेको थियो। त्यसअघि लगातार तीन दिन बजारमा वृद्धि देखिएको थियो।

बजार घटेसँगै लगानीकर्ताको मनोबलमा दबाब देखिए पनि कारोबार रकम भने सामान्य रूपमा बढेको छ। मंगलबार ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो, जुन सोमबारको ४ अर्ब ६१ करोडभन्दा केही बढी हो।

नीति तथा कार्यक्रमपछि बजारमा दबाब

अघिल्लो दिन सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। पूँजीबजारसम्बन्धी केही विषय समेटिए पनि कार्यान्वयनको सुनिश्चिततामाथि लगानीकर्ताको विश्वास कमजोर देखिएको छ।

नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीलाई बजारमा सहभागी गराउने, नेप्सेको पुनर्संरचना गर्ने तथा बन्ड बजार विस्तार गर्ने जस्ता पुरानै घोषणा दोहोरिएका छन्। तर ती योजनाहरू व्यवहारमा कति कार्यान्वयन हुन्छन् भन्नेमा अझै अन्योल छ।

अधिकांश समूह राताम्य

मंगलबार बजारका लगभग सबै समूहका सूचक घटेका छन्। बैंकिङ ०.८३ प्रतिशत, विकास बैंक १.३७ प्रतिशत, फाइनान्स २.०३ प्रतिशत, होटल तथा पर्यटन २.०२ प्रतिशत, हाइड्रोपावर २.२२ प्रतिशत, लगानी १.३० प्रतिशत, जीवन बीमा ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधन १.६५ प्रतिशत, माइक्रोफाइनान्स १.५१ प्रतिशत, निर्जीवन बीमा ०.७७ प्रतिशत, अन्य १.४९ प्रतिशत र व्यापार समूह २.३३ प्रतिशतले घटेका छन्।

केही कम्पनीमा तीव्र उतारचढाव

धौलागिरि लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले बढ्दै सबैभन्दा धेरै वृद्धि देखियो। डिबेन्चर समूहका केही कम्पनी पनि माथिल्लो सूचीमा रहे।

यता, फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै १२.४० प्रतिशतले घट्यो। झापा इनर्जी ६.८९ प्रतिशत, आत्मनिर्भर लघुवित्त ६.११ प्रतिशत र होटल फरेस्ट इन ६.१० प्रतिशतले घटे।

सर्वाधिक कारोबार भएका कम्पनी

आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, शिवम् सिमेन्ट र एसवाई प्यानल रहेका छन्।

जम्मा ५८ सांसदले बुझाए सम्पत्ति विवरण ?

काठमाडौं। संघीय संसद्का ५८ जना सांसदले आफ्नो सम्पत्ति विवरण बुझाएका छन्। उनीहरूले संघीय संसद् सचिवालयको सांसद सुविधा शाखामा विवरण बुझाएको बताइएको छ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५०(१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१(क)(१) अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोतसहितको विवरण तोकिएको निकायमा पेस गर्नुपर्ने व्यवस्था छ।

उक्त कानुनी व्यवस्थाअनुसार पदभार ग्रहण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेको छ। सोही आधारमा संघीय संसद् सचिवालयले सांसदहरूलाई समयमै विवरण बुझाउन सूचना जारी गरेको थियो।

सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ।

संघीय संसद् अन्तर्गत २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रिय सभा रहेका छन्।

वर्षाका कारण जारी नेपाल र स्कटल्याण्डबीचको खेल प्रभावित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा जारी नेपाल र स्कटल्याण्डबीचको खेल वर्षाका कारण केही समय प्रभावित भएको छ।

वर्षाका कारण ओभर घटाइएपछि खेलको लक्ष्य पनि संशोधन गरिएको छ। यसअघि स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो।

ओभर घटाएर ३९ ओभरमा सीमित गरिएको खेलमा नेपाललाई नयाँ लक्ष्य २२१ रन दिइएको छ।

खेल पुनः सुरु भएपछि दुवै टोली प्रतिस्पर्धात्मक अवस्थामा मैदानमा उत्रिएका छन्।

संख्याको दम्भमा विधि मिच्ने काम नहोस् : प्रचण्ड

काठमाडौं ।पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ले सरकारलाई संख्याको बलमा विधि र प्रक्रिया मिच्ने काम नगर्न चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले जनताले दिएको विश्वासलाई लोकतान्त्रिक प्रणाली र विधि बलियो बनाउन प्रयोग गर्नुपर्ने बताएका हुन्।

‘मेरो आग्रह छ, संख्याको दम्भमा विधि मिच्ने काम नगरियोस्। जनताले अहिले तपाईंहरूलाई विश्वास गरेका छन्, त्यो विश्वास लोकतान्त्रिक विधि सुदृढ गर्ने दिशामा प्रयोग होस्,’ प्रचण्डले भने।

उनले संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन सञ्चालन गर्ने सरकारको शैलीप्रति पनि आपत्ति जनाए। आफ्नै सरकारले गठन गरेको संसद्लाई निष्क्रिय बनाएर जनप्रतिनिधिलाई छल्ने काम लोकतन्त्रको भावना विपरीत भएको उनको भनाइ थियो।

‘आफैंले बनाएको संसद् स्थगित गरेर एकपछि अर्को अध्यादेश ल्याउनु लोकतान्त्रिक अभ्याससँग मेल खाने कुरा होइन,’ उनले बताए।

प्रचण्डले पछिल्लो समय सरकारको आलोचना गर्नेहरूमाथि धरपकड गरिएको भन्दै त्यसप्रति पनि असन्तुष्टि व्यक्त गरे। उनले प्रतिशोधको भावना झल्किने गरी भइरहेको कारबाही लोकतान्त्रिक पद्धति र प्रणालीका लागि स्वीकार्य नहुने स्पष्ट पारे।

‘सरकारको आलोचना गर्नेहरूलाई थुन्ने र धरपकड गर्ने शैलीले प्रतिशोधको गन्ध दिएको छ,’ उनले भने, ‘यस्तो प्रवृत्ति लोकतन्त्रका लागि घातक हुन सक्छ।’

 

विद्यार्थी र ट्रेड युनियनमाथि प्रतिबन्ध कायम रहे गम्भीर परिस्थिति आउन सक्छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थी संगठन र ट्रेड युनियनमाथिको प्रतिबन्धलाई अस्वीकार्य बताएका छन्। नयाँ संसदमा पहिलोपटक सम्बोधन गर्दै उनले सरकार पञ्चायती शैलीमा अघि बढिरहेको टिप्पणी गरे।

प्रचण्डले विद्यार्थी संगठनमाथिको प्रतिबन्धलाई राजनीतिक इतिहासमाथिको अपमानका रूपमा व्याख्या गरे।

उनले भने, ‘लोकतन्त्रको रोडम्याप लोकतन्त्रलाई बलियो बनाउने र संविधानको रक्षा गर्दै विस्तारित गर्ने हुनुपर्छ। नागरिकलाई आवाज उठाउन प्रतिबन्धित गरेर लोकतन्त्र बलियो हुन सक्दैन।’

उनले विद्यार्थी संगठनको भूमिका सुधार आवश्यक भए पनि त्यसलाई समाप्त पार्ने वा आवाज नै थुन्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे।

उनका अनुसार, ‘विद्यार्थी संगठनमा सुधार गर्नुपर्ने कुरा सुधार गरौँ। तर, आवाज नै थुन्ने कुरा विलकुल स्वीकार्य हुन सक्दैन।’

त्यस्तै, उनले ट्रेड युनियनमाथिको प्रतिबन्धलाई पनि अलोकतान्त्रिक भन्दै आलोचना गरे। विश्वका लोकतान्त्रिक मुलुकहरूले ट्रेड युनियनलाई श्रमिक अधिकारको रूपमा स्वीकार गरेको उल्लेख गर्दै उनले नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको विपरीत नजान सरकारलाई आग्रह गरे।

प्रचण्डले चेतावनी शैलीमा भने, ‘विद्यार्थी र ट्रेड युनियनमाथि प्रतिबन्ध कायम रहे गम्भीर परिस्थिति आउन सक्छ, अहिले म यति मात्र भन्न चाहन्छु।’

समावेशी संसद क्रान्तिको उपलब्धि हो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ले संघीय संसदमा देखिएको समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको चुनावी उपलब्धिभन्दा पनि ठूलो राजनीतिक सफलता भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु तथा उत्पीडित समुदायको प्रतिनिधित्वलाई लामो संघर्ष र बलिदानको परिणामका रूपमा व्याख्या गरे।

‘परिणामका हिसाबले पार्टी सानो वा ठूलो जे भए पनि यो संसदमा उत्पीडित समुदायहरूको इन्द्रेणी प्रतिनिधित्व हुनु मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो,’ उनले भने।

प्रचण्डले वर्तमान संसदलाई ‘रगतले लेखिएको कथा” को संज्ञा दिँदै जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षमार्फत प्राप्त उपलब्धिको उपज भएको बताए। “पिठ्युँमा दुधे बालक र काँधमा बन्दुक बोकेका महिलाहरूको बलिदानले यो प्रतिनिधित्व सम्भव भएको हो,’ उनले भने।

उनले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह को उदयलाई पनि परिवर्तन र क्रान्तिको निरन्तरताका रूपमा चित्रण गरे। ‘काठमाडौंको मेयर हुँदै बालेन्द्र शाह आज देशकै प्रधानमन्त्री बन्नुभएको छ, पार्टी फरक भए पनि यो क्रान्तिकै संकल्पको जित हो,’ उनले बताए।

त्यस्तै, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा हासिल गरेको सफलताको पनि उनले प्रशंसा गरे। ‘राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइ सफलता हासिल गरेको छ, त्यसका लागि रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई विशेष बधाई दिन चाहन्छु,’ उनले भने।

प्रचण्डले संसदको वर्तमान स्वरूपलाई विगतको सामन्तवादी संरचनासँग तुलना गर्दै परिवर्तनको स्पष्ट संकेत भएको बताए। ‘हिजो बन्दुक नउठेको भए उत्पीडित समुदायका प्रतिनिधिहरू यो संसदमा प्रवेश गर्न पाउने थिएनन्,’ उनले दाबी गरे।

उनले संसद भवनलाई केवल इँटा, सिमेन्ट र फलामको संरचना नभई हजारौं शहीदको बलिदानको प्रतीक भएको बताए। ‘यो भवनको हरेक भित्तामा बलिदानको रङ लागेको छ,’ उनले भावुक हुँदै भने।

रुकुम पूर्वबाट निर्वाचित प्रचण्डले आफूलाई निर्वाचित गराउने मतदाता तथा सम्पूर्ण नेपाली जनताप्रति आभार व्यक्त गरे। साथै, नव निर्वाचित सांसदहरूलाई बधाई दिँदै लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउन आह्वान गरे।

उनले अन्त्यमा संघर्ष र बलिदानलाई बिर्सिए लोकतान्त्रिक उपलब्धिहरू नै संकटमा पर्ने चेतावनी दिए। ‘जुन दिन हामीले त्यो बलिदान बिर्सन्छौं, त्यो दिन यो भवन आफैं ढल्नेछ,’ उनले भने।

रोष्ट्रमबाट प्रचण्डले भने : ‘यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौं, आन्दोलन गर्‍यौं।’

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो दलको निर्वाचन परिणामभन्दा ठूलो उपलब्धि भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा आज सम्बोधन गर्दै उनले यो उपलब्धिलाई संघर्ष, क्रान्ति र बलिदानको परिणामका रूपमा व्याख्या गरे।

उनले भने, ‘परिणामका दृष्टिले सानो ठूलो जो–जे सुकै भए पनि संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको यो प्रतिनिधि सभामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, उपेक्षित उत्पीडित समुदाय र वर्गको इन्द्रधनुषी प्रतिनिधित्व मेरा लागि पार्टीको विजयभन्दा महत्वपूर्ण छ, महत्वपूर्ण रहनेछ।’

प्रचण्डले संसदमा भएको समावेशी उपस्थितिलाई ऐतिहासिक उपलब्धि भन्दै त्यसलाई ‘रगतले लेखिएको कथा’ को रूपमा चित्रण गरे।

उनले भने, ‘यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ। क्रान्तिले लेखिएको छ। पिठ्यूँमा दुधे बालक र काँधमा बन्दूक बोकेका महिलाहरूको बलिदानले लेखिएको छ।’

उनका अनुसार संसद भवन केवल भौतिक संरचना नभई ऐतिहासिक आन्दोलन र बलिदानको प्रतीक हो।

उनले भने, ‘बाहिरबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौं सहिदको बलिदान रहेको छ। हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौं, आन्दोलन गर्‍यौं।’

उनले थपे, ‘यो भवनको जगमा त्यही शहादत छ। यसका हरेक भित्ता बलिदानले रंगिएका छन्। म इतिहासका ती सबै, सशस्त्र र शान्तिपूर्ण आन्दोलन एवं पछिल्लो जेनजी आन्दोलनसम्मका सहिद, बेपत्ता, घाइते योद्धा र अभियानकर्मीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।’

सम्बोधनका क्रममा उनले वर्तमान राजनीतिक नेतृत्व र नयाँ शक्तिहरूको निर्वाचन सफलताको पनि प्रशंसा गरे।

उनले भने, ‘हिजो सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा झण्डै दुई तिहाइको सफलता पाएको छ। त्यसका लागि सभापति माननीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई मेरो विशेष बधाई छ।’

प्रचण्डले आफूलाई निर्वाचित गर्ने रुकुम पूर्वका मतदाताप्रति आभार व्यक्त गर्दै संसदमा आएका सबै सांसदलाई शुभकामना दिएका छन्। साथै उनले बलिदान र आन्दोलनलाई बिर्सिए लोकतान्त्रिक संरचना कमजोर हुन सक्ने चेतावनी पनि दिएका छन्।

संसदलाई ‘बलिदानको उपज’ भन्दै रास्वपालाई दिए प्रचण्डले बधाई

काठमाडौं। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदलाई समावेशी सहिदहरूको बलिदानको उपजका रूपमा व्याख्या गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले संसद भवनलाई भौतिक संरचना मात्र नभई विभिन्न आन्दोलन र संघर्षको परिणाम भएको बताए। उनले भने, ‘बाहिरबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौं सहिदको बलिदान रहेको छ।’

प्रचण्डका अनुसार हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व सुनिश्चित भएको वर्तमान संसद लामो संघर्ष र बलिदानको परिणाम हो। उनले थपे, ‘हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौं, आन्दोलन गर्‍यौं।’

उनले संसदको आधार नै ऐतिहासिक आन्दोलन र शहादत भएको उल्लेख गर्दै भने, ‘यो भवनको जगमा त्यही शहादत छ। यसका हरेक भित्ता बलिदानले रंगिएका छन्। म इतिहासका ती सबै, सशस्त्र र शान्तिपूर्ण आन्दोलन एवं पछिल्लो जेनजी आन्दोलनसम्मका सहिद, बेपत्ता, घाइते योद्धा र अभियानकर्मीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।’

सम्बोधनका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन सफलताको पनि प्रशंसा गरेका छन्। उनले भने, ‘हिजो सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा झण्डै दुई तिहाइको सफलता पाएको छ। त्यसका लागि सभापति माननीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई मेरो विशेष बधाई छ।’

प्रचण्डले समावेशी लोकतन्त्र र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको संरक्षण सबैको साझा जिम्मेवारी भएको धारणा पनि राखेका छन्।

 

रमेश प्रसाईंको प्रश्न : तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध मुद्दा दायर गर्न के ले रोकेको छ ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले प्रतिनिधिसभामा सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

मंगलबार बसेको बैठकमा बोल्दै उनले सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्ने विषय केवल औपचारिकतामा सीमित नभई सरकारको व्यवहारबाट पुष्टि हुनुपर्ने बताए।

सांसद प्रसाईंले ‘जेनजी आन्दोलन’सँग सम्बन्धित घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध मुद्दा दायर प्रक्रिया अघि नबढ्नुको कारणबारे सरकारलाई प्रश्न गरे। उनले प्रमाण नपुगेको हो कि प्राथमिकता नदिइएको हो भन्ने स्पष्ट हुनुपर्ने माग गरे।

उनले विगतका विभिन्न आयोगका प्रतिवेदनहरू कार्यान्वयन नभएकोप्रति पनि आपत्ति जनाउँदै मल्लिक आयोग, रायमाझी आयोग र लाल आयोगका प्रतिवेदनहरू लामो समयदेखि थन्क्याइएका कारण सहिदहरूमाथि अन्याय भइरहेको टिप्पणी गरे।

प्रसाईंले राज्यका निर्णय र कार्यान्वयन प्रक्रिया परिवर्तन नभए पुरानै प्रवृत्ति दोहोरिने खतरा रहने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी संसदलाई गराइयोस् : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्देम्बे ले संविधान संशोधन प्रक्रिया पर्याप्त संवेदनशील र सहभागितामूलक नभएको भन्दै सरकारको आलोचना गरेका छन्। संसद्मा बोल्दै उनले संविधान संशोधन प्रशासनिक विषय मात्र नभई नागरिक अपनत्वसँग जोडिएको गम्भीर विषय भएको बताए।

आङ्देम्बेले वर्तमान संविधान लामो बहस, छलफल र संविधानसभामार्फत निर्माण भएको स्मरण गराउँदै संशोधन प्रक्रियालाई पनि त्यत्तिकै गम्भीरताका साथ अघि बढाउनुपर्ने बताए। उनले हाल गठन गरिएको कार्यदल र सुरु गरिएको बहसले व्यापक स्वामित्व दिन नसकेको आरोप लगाए।

‘एउटा सामान्य कानुन निर्माणभन्दा पनि गहन र संवेदनशील विषय हो संविधान संशोधन,’ उनले भने, ‘यसलाई हतारो र सीमित प्रक्रियाबाट अघि बढाउँदा सही निकास नआउन सक्छ।’

कांग्रेसले सर्वोच्च अदालतका बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा विज्ञसहित सर्वपक्षीय संविधान सुधार सुझाव आयोग गठन गर्नुपर्ने स्पष्ट धारणा राखेको उनले बताए।

त्यस्तै, आङ्देम्बेले नेपाल भारत खुला सीमाको संवेदनशीलतालाई सरकारले व्यवहारिक ढंगले बुझ्नुपर्ने धारणा राखे। भन्सारको सय रुपैयाँसम्बन्धी व्यवस्थाले सीमा क्षेत्रमा अनावश्यक हलचल ल्याएको भन्दै उनले सीमा क्षेत्रका नागरिकको जीवनशैलीलाई जबर्जस्ती औपचारिक बनाउन नहुने बताए।

उनले जलवायु परिवर्तनका कारण अग्रिम वर्षा र विपद्का असर देखिन थालिसकेको उल्लेख गर्दै सरकारको पूर्वतयारी कमजोर रहेको आरोप लगाए। गृह मन्त्रालयजस्तो संवेदनशील मन्त्रालय नेतृत्वविहीन रहनु राष्ट्रिय सुरक्षामाथिको खेलाँची भएको टिप्पणी गर्दै उनले यसले गम्भीर दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिए।

कांग्रेस नेता आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र साह को संसद्मा देखिएको व्यवहारमाथि पनि प्रश्न उठाए। आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बीचमै उठेर हिँडेको घटनाले संसद्को गरिमामाथि असर पुगेको उनले बताए।

‘प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण बाहिरिनुभएको हो भने संसद्लाई जानकारी गराइयोस्,’ उनले भने, ‘अन्यथा यस्तो व्यवहारलाई अहंकार र मर्यादाहीन आचरणका रूपमा बुझ्न सकिन्छ।’

प्रधानमन्त्रीको गतिविधिले जनताको मन दुखेको र संसद्को सम्मानमा आघात पुगेको टिप्पणी गर्दै उनले सरकारलाई जिम्मेवार बन्न आग्रह गरे।

सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी : आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्देम्बे ले सरकारले बजेट अधिवेशनलाई गम्भीर रूपमा नलिएको आरोप लगाएका छन्। संसद्मा बोल्दै उनले बजेटमाथि हुनुपर्ने व्यापक छलफल र विमर्शका लागि पर्याप्त समय नदिइएको बताएका हुन्।

आङ्देम्बेले बजेट सार्वजनिक हुनुअघि कम्तीमा दुई महिना पूर्व–बजेट छलफल हुनुपर्ने भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए। ‘हामीले अधिवेशन दुई हप्ता अगाडि नै बोलाउन माग गरेका थियौँ, तर सरकारले संसद्को महत्व आत्मसात गर्न सकेन,’ उनले भने।

उनले आदेश र घोषणाबाट शासन चलाउने शैली रोजिएको टिप्पणी गर्दै यो अपरिपक्वता हो कि नियत भन्ने प्रश्न उठाए। संसद् जनताका पीर, मर्का, माग र सुझाव अभिव्यक्त हुने थलो भए पनि सरकारले त्यसलाई कमजोर बनाएको उनको आरोप थियो।

कांग्रेस नेता आङ्देम्बेले सरकारको नीति तथा कार्यक्रममाथि पनि प्रश्न उठाए। सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डामा बनेको सरकारले नयाँ शब्दावली प्रयोग गरे पनि सारमा पुरानै सोच दोहोरिएको उनले बताए।

विदेश नीति, सार्वजनिक शिक्षामा प्रविधि, रणनीतिक पूर्वाधार, विश्वविद्यालयमा ‘बोर्ड अफ ट्रस्टी’ मोडल, सूचना प्रविधिमा आधारित सेवा निर्यात, डिजिटल व्यापार र रिमोट वर्कजस्ता विषय उल्लेख गरिए पनि ती कार्यान्वयनका लागि ठोस योजना नरहेको उनको भनाइ थियो।

उनले विगतमा पनि नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नदेखिएको स्मरण गराउँदै यसपटक पनि त्यही प्रवृत्ति दोहोरिने संकेत देखिएको बताए। ‘नीति कार्यक्रम एकातिर र बजेट अर्कोतिर हुने रोग अझै हटेको छैन,’ उनले भने।

आङ्देम्बेले स्रोत व्यवस्थापन, सार्वजनिक खर्चमा हुने ‘लिकेज’ रोक्ने उपाय र पूँजीगत खर्च बढाउने स्पष्ट योजना सरकारसँग नरहेको आरोप लगाए। उनका अनुसार आगामी बजेट सपना बाँड्नेभन्दा परिणाममुखी र प्राथमिकतामा आधारित हुन आवश्यक छ।

उनले सार्वजनिक ऋणको भार बढ्दै गएको अवस्थामा राज्यको आर्थिक क्षमता कमजोर रहेको उल्लेख गर्दै बजेटको विश्वसनीयतामाथि पनि प्रश्न उठाए। ‘सुरुमा ठूलो आकारको बजेट ल्याउने र पछि आधा वर्षमै घटाउने प्रवृत्ति अन्त्य हुनुपर्ने हो, तर यसपटक पनि सुधारको संकेत देखिएको छैन,’ उनले भने।

यद्यपि, उनले अनुभवी अर्थमन्त्रीले नयाँ बजेटमार्फत स्रोत र साधन परिचालनमा नयाँ मानक स्थापित गर्ने अपेक्षा व्यक्त गरे। तर सरकारको नीति तथा कार्यक्रममा आशा जगाउने सिर्जनात्मक सोच नदेखिएको टिप्पणी गर्दै उनले ‘सधैंझैँ मनोटोनस शब्दावलीमार्फत कर्मकाण्ड मात्रै पूरा गरिएको’ आरोप लगाए।

सुकुम्वासी व्यवस्थापनमा प्रक्रिया र संरक्षणको माग : सांसद खनाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष खनालले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई प्रक्रिया पूरा नगरी हटाउन नहुने भन्दै सरकारसँग पत्राचारमार्फत स्पष्ट निर्देशन दिन माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नारायणी नदी किनारमा पुस्तौँदेखि बस्दै आएका नागरिकहरू त्रासमा बसिरहेको उल्लेख गर्दै राज्यले सबैको अभिभावक भएर भूमिका खेल्नुपर्ने बताए।

उनले भने, ‘विस्थापन होइन, व्यवस्थापन र उठीवास होइन, व्यवस्थित बसोबासको मल्हम लगाउने जिम्मा यो सरकारको हो र हुनैपर्छ।’

सांसद खनालले वास्तविक सुकुम्वासी पहिचानका लागि प्राधिकरण गठन गर्नुपर्ने र अन्तिम सिफारिस नआउन्जेल कुनै पनि हटाउने प्रक्रिया अघि नबढाउन स्थानीय तहलाई तत्काल पत्राचार गर्न माग गरे। उनले भूमिहीन, दलित र अल्पसंख्यक समुदायको समावेशी व्यवस्थापनमा सरकार सक्रिय हुनुपर्ने पनि बताए।

उनले सुकुम्वासी हटाइने हल्लाले त्रास फैलिएको भन्दै त्यसलाई विपक्षीले बढाएको आरोप लगाए। साथै नवलपुरका सुकुम्वासीलाई धैर्य गर्न पनि उनले आग्रह गरे।

खनालले विगत लामो समयदेखि लालपुर्जा राजनीतिक लाभका लागि प्रयोग हुँदै आएको दाबी गर्दै अब त्यस्तो अभ्यास अन्त्य हुनुपर्ने टिप्पणी गरे।

सरकारले संविधानको मूल आत्मामाथि प्रहार गर्‍यो : भिष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्देम्बे ले सरकारले संविधानले सुनिश्चित गरेका मौलिक अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्। संसद्मा धारणा राख्दै उनले संविधानको धारा १६ र १७ लाई संविधानको मूल आत्मा भन्दै समानता र स्वतन्त्रताको अधिकारमाथि सरकारले तरबार चलाएको टिप्पणी गरे।

उनले सरकारको व्यवहारले हुनेखाने र विपन्न नागरिकलाई फरक दृष्टिले हेर्ने सामन्तवादी सोच झल्किएको आरोप लगाए। ‘गरिब, सुकुम्बासी र विपन्न वर्गलाई फरक मानिसझैँ व्यवहार गरिएको अनुभूति भएको छ,’ उनले भने।

आङ्देम्बेले मजदुर, कर्मचारी, विद्यार्थी तथा विभिन्न पेसागत संघ संस्थामाथि सरकारले हस्तक्षेप बढाएको आरोप पनि लगाए। संगठित हुने र संस्था सञ्चालन गर्ने अधिकारमाथि डोजर चलाइएको भन्दै उनले सरकारको शैली लोकतान्त्रिक मूल्यविपरीत रहेको बताए।

त्यस्तै, उनले भ्रष्टाचारविरुद्ध चर्का भाषण गर्ने सरकारले आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको गम्भीर आरोपबारे निष्पक्ष छानबिन नगरेको भन्दै प्रश्न उठाए। ‘अरूलाई भ्रष्टाचारको आरोप लगाएर अल्गोरिदमिक खेदाइ गर्ने तर आफ्नै मान्छेमाथि अनुसन्धान गर्न हच्किनु कस्तो सुशासन हो ?’ उनले प्रश्न गरे।

सरकारले सम्पत्ति छानबिन आयोग गठन गरेकोप्रति धन्यवाद दिँदै उनले विगतमा बनेको लम्साल आयोगको प्रतिवेदन कार्यान्वयन नगर्नुको कारण पनि सोधे। ‘प्रतिवेदन बनाउने र दराजमा थन्क्याउने प्रवृत्ति दोहोरिने हो भने अहिलेको चर्चा र घोषणाको कुनै अर्थ रहँदैन,’ उनले भने।

कांग्रेस नेता आङ्देम्बेले प्रधानमन्त्रीको १०० बुँदे कार्यक्रमप्रति पनि संशय व्यक्त गरे। आकर्षक शब्दावलीमा प्रस्तुत गरिएका घोषणा कार्यान्वयनभन्दा बढी प्रचारमुखी हुन सक्ने भन्दै उनले जनतामा परिवर्तनको अनुभूति गराउन सरकार सफल होस् भन्ने शुभेच्छा व्यक्त गरे।

तर, ४५ दिन बितिसक्दा ३० दिनभित्र पूरा गर्ने भनिएका धेरै प्रतिबद्धता अझै कार्यान्वयन नभएको उल्लेख गर्दै उनले लोकप्रियतावादी घोषणाले अन्ततः जनताको विश्वासमा चोट पुर्‍याउन सक्ने चेतावनी दिए। ‘१०० दिन पुगेपछि यो सदनले वस्तुगत समीक्षा गर्नेछ,’ उनले भने।

अध्यादेशमार्फत शासन चलाएको भन्दै कांग्रेसको आपत्ती

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्देम्बे ले सरकारले अध्यादेशमार्फत शासन चलाएर संसदीय गरिमा र लोकतान्त्रिक मूल्य मान्यतामाथि चोट पुर्‍याएको आरोप लगाएका छन्। संसद् अधिवेशनलाई सम्बोधन गर्दै उनले आह्वान भइसकेको अधिवेशन स्थगित गरेर सरकारले करिब डेढ सय कानुन संशोधन तथा नयाँ कानुन अध्यादेशमार्फत ल्याएको भन्दै आपत्ति जनाए।

उनले संसद्को मुख्य अधिकार मानिने कानुन निर्माण प्रक्रिया खोसिएको टिप्पणी गर्दै संसदीय प्रणालीप्रति सरकारको निष्ठामाथि नै जनस्तरमा शंका उत्पन्न भएको बताए।

आङ्देम्बेले जेनजी विद्रोहको लहरमा बनेको सरकारलाई सुरुवातमै कांग्रेसले सकारात्मक र रचनात्मक सहयोगको प्रतिबद्धता जनाएको स्मरण गराउँदै अहिले सरकारको संवादहीन शैलीप्रति असन्तुष्टि व्यक्त गरे। ‘सरकारलाई फेसबुकमा खोज्नुपर्ने अवस्था सिर्जना हुनु लोकतान्त्रिक अभ्यासका लागि सुखद होइन,’ उनले भने।

उनले लोकतन्त्र संवाद, बहस, छलफल र सहकार्यको संस्कृति भएको उल्लेख गर्दै सरकारले संसद् र जनप्रतिनिधिको आवाजलाई सम्मान गर्नुपर्ने बताए। ‘लोकतन्त्र बन्द कोठाको शासन होइन, यो खुला र सरल प्रक्रिया हो,’ उनले भने।

कांग्रेस नेता आङ्देम्बेले अध्यादेशको संस्कृतिले असंसदीय शासनशैलीलाई प्रोत्साहन गरेको आरोप पनि लगाए। उनले यस्तो प्रवृत्तिले दीर्घकालीन रूपमा गम्भीर असर पार्न सक्ने चेतावनी दिए।

त्यस्तै, उनले देशमा बढ्दो महँगीका कारण जनजीवन कष्टकर बनेको उल्लेख गर्दै सरकार नागरिकप्रति संवेदनशील बन्नुपर्ने बताए। सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी कदमप्रति आपत्ति जनाउँदै उनले भूमिहीन, अशक्त, बालबालिका र सुत्केरीलाई समेत सडकमा पुर्‍याउने शैली अमानवीय भएको टिप्पणी गरे।

‘सरकार अभिभावक बन्नुपर्ने हो, यमदूतजस्तो क्रुर बन्नु हुँदैन,’ उनले संसद्मा भने।

 

मानसिक तथा कानुनी परामर्श सेवा उपलब्ध गराउन रास्वपा सांसद रञ्जु दर्शनाको माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले ज्येष्ठ नागरिकमैत्री संरचना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बुढेसकाल अपराध नभई राज्यले संरक्षण गर्नुपर्ने अवस्था भएको बताइन्।

उनले भनिन्, ‘बुढेसकाल अपराध होइन, राज्यले संरक्षण गर्नुपर्ने अवस्था हो। जसले देश निर्माणमा खटिनुभयो, आज उहाँहरू आफ्नै बुढेसकालमा एक्लै हुने अवस्था छ।’

सांसद दर्शनाले प्रत्येक वडामा पहुँचयोग्य स्वास्थ्य सेवा, मानसिक तथा कानुनी परामर्श सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याइन्। उनले ज्येष्ठ नागरिक, सुत्केरी लगायतलाई राज्यले अभिभावकत्व महसुस गराउन सक्ने नीति आवश्यक रहेको पनि बताइन्।

श्रममन्त्रीका सवारी चालक मियाँले अपहरण गरी नग्न अवस्थामा कुटपिट गरेको भिडियो प्रमाण फेला

काठमाडौं। प्रहरीले सप्तरीका २७ वर्षीय मुस्ककिम मियाँलाई अपहरण तथा शरीर बन्धक कसुरमा पक्राउ गरेको छ।

सप्तरी प्रहरीका अनुसार उनलाई सोमबार राजविराजबाट नियन्त्रणमा लिइएको हो। मियाँ सप्तरीको महादेव गाउँपालिका–३ का बासिन्दा हुन्।

प्रहरी अनुसन्धानअनुसार मियाँमाथि पीडितलाई अपहरण गरी नग्न अवस्थामा कुटपिट गरेको आरोप छ। घटनासम्बन्धी भिडियो प्रमाण समेत फेला परेको बताइएको छ। जसका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका मियाँ हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सवारी चालकका रूपमा कार्यरत रहेको खुलेको छ। तर अनुसन्धानका क्रममा उनले आफूलाई मन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारको रूपमा समेत प्रस्तुत गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

सप्तरीका प्रहरी प्रमुख एसपी मिलन केसीका अनुसार मियाँमाथि थप अनुसन्धान भइरहेको छ। जिल्ला अदालतबाट उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति समेत प्राप्त भएको छ।

राईसहित ८ जना पक्राउ

विराटनगर। मोरङका विभिन्न स्थानबाट दुई दिनको अवधिमा ब्राउन सुगर (खैरो हेरोइन) सहित आठ जना पक्राउ परेका छन्। प्रहरीले रंगेली र कानेपोखरी क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सोमबार रंगेली नगरपालिका–४ चोप्राहाबाट इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले चार जनालाई पक्राउ गरेको हो। भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका बेलबारी नगरपालिका–६ का २१ वर्षीय समीर राई र बेलबारी–४ का ३४ वर्षीय शक्ति राईलाई जाँचका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। शक्तिको साथबाट २० ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर फेला परेको बताइएको छ।

त्यसैगरी, भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका रंगेली–७ का २५ वर्षीय कार्तिककुमार मण्डल र पथरीशनिश्चरे–६ का २९ वर्षीय मुकेश महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ। मण्डलको साथबाट ३ ग्राम र महतोको साथबाट ७ ग्राम ५९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा अघि बढाइएको छ।

यसैबीच, कानेपोखरी गाउँपालिका–६ शिवशक्ति चोकबाट पनि आइतबार राति चार जना पक्राउ परेका छन्। प्रहरी चौकी रमाइलोबाट खटिएको टोलीले स्थानीय २० वर्षीय प्रज्वल राई, १८ वर्षीय अन्जन जिमी, २६ वर्षीय लोकेश घले र १८ वर्षीय राज विकलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट ३ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

एमाले संसदीय दलका नेता ‘बादल’ले पद्मा अर्याललाई गरे उपनेता नियुक्त

काठमाडौं। नेकपा एमालेले संसदीय दल उपनेताको जिम्मेवारीमा पद्माकुमारी अर्याललाई मनोनीत गरेको छ।

प्रतिनिधि सभा सांसदसमेत रहेकी पार्टी सचिव अर्याललाई संसदीय दल नेता रामबहादुर थापा ‘बादल’ले उपनेता नियुक्त गरेका हुन्।

प्रमुख सचेतक ऐन महरका अनुसार पार्टी संसदीय दलको विधानअनुसार दल नेताले उपनेता तोक्ने व्यवस्था भएकाले सोही प्रावधानअनुसार निर्णय गरिएको हो।

यसअघि एमालेले प्रमुख सचेतकमा ऐन महर र सचेतकमा निता घतानीलाई मनोनीत गरिसकेको छ।

प्रतिनिधि सभामा एमालेका २५ जना सांसद रहेका छन्।

अर्थमन्त्री वाग्लेले ‘सदनमा निदाएको’ आरोपबारे भने – ‘अर्जेन्ट म्यासेज आयो हेर्दै थिएँ’

काठमाडौं।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला आफू निदाएको भन्ने सामाजिक सञ्जालमा आएको आरोपको खण्डन गरेका छन्।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला अर्थमन्त्री वाग्ले निदाएको जस्तो देखिएको भिडिओ सार्वजनिक भएपछि आलोचना भएको थियो।

मंगलबार एक संसदीय समिति बैठकमा आफैंले उक्त प्रसंग उठाउँदै उनले आफू निदाएको नभएको स्पष्ट पारे।

उनले भने, ‘अर्थमन्त्री निदायो भनेर एकदम भाइरल भएको छ। जे देखिन्छ त्यही यथार्थ नहुन पनि सक्छ भन्ने चेत यहाँहरुले पनि राखिदिनुहोला।’

उनका अनुसार आफूले मोबाइलमा आएका तत्कालीन सन्देश (म्यासेज) हेरेको कारण टाउको झुकाएको देखिएको हो। उनले राष्ट्रपतिको उपस्थितिमा फोन उठाउनु उपयुक्त नहुने भएकाले टेबलमुनि मोबाइल हेरेको बताए।

वाग्लेले भने, ‘अर्जेन्ट म्यासेजहरु आइरहेका थिए, त्यसैले घोप्टो परेर मोबाइल हेरिरहेको थिएँ। अर्थमन्त्री निदायो भनेर दशौं लाखलाई रमिता भएको छ। जे देखिन्छ, त्यो नै सधैं यथार्थ हुँदैन।’

नेकपा सांसद बलावतीले भनिन् : ‘सरकारले न्यायालयलाई मुठ्ठीमा राखी कब्जा गर्न खोजेको हो?’

काठमाडौं। सांसद बलावती शर्माले सरकारले गरिबमाथि शासन र न्यायालय कब्जा गर्ने प्रयास गरेको आरोप लगाएकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले शक्ति पृथकीकरणको सिद्धान्तलाई बेवास्ता गर्दै न्यायालयलाई नियन्त्रणमा लिन खोजेको टिप्पणी गरिन्।

उनले भनिन्, ‘शक्ति पृथकीकरणको सिद्धान्तलाई तिलाञ्जली दिएर सरकारले न्यायालयलाई मुठ्ठीमा राखी न्याय कब्जा गर्न खोजेको हो ?’

सांसद शर्माले करिब दुईतिहाइको सरकार गरिब र निमुखाको भरोसा बन्नुपर्नेमा उल्टै उनीहरूमाथि शक्तिको दुरुपयोग भएको बताइन्। उनले डोजर प्रयोग गरेर गरिबका घर भत्काइएको भन्दै सरकारको आलोचना पनि गरिन्।

उनले प्रश्न गरिन्, ‘दुईतिहाइको सरकारले गरिबको व्यवस्थापन गर्ने हो कि उनीहरूमाथि शक्ति प्रदर्शन गर्ने हो ?’

जर्ज मुन्सीको अर्धशतक, नेपाललाई स्कटल्यान्डले दियो २४४ रनको लक्ष्य

काठमाडौं। ओपनर जर्ज मुन्सीको अर्धशतकप्रेरित स्कटल्यान्डले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय श्रृंखलाको पहिलो खेलमा नेपाललाई २४४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको हो।

स्कटल्यान्डका मुन्सीले ७५ रनको उत्कृष्ट इनिङ खेले। उनले ६२ बलमा १२ चौका र २ छक्का प्रहार गरे। फिन्ले म्याककिएथले ३५ रन र माइकल इंग्लिसले अविजित ३४ रन जोडे। त्यसैगरी माइकल लिस्कले २९, मार्क वाटले २४ र म्याथ्यु क्रसले १८ रनको योगदान दिए।

पहिलो विकेटका लागि मुन्सी र म्याककिएथबीच ११४ रनको साझेदारी भएको थियो, जसलाई सन्दीप लामिछानेले तोडेका थिए।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चिए। करण केसी र नन्दन यादवले समान २–२ विकेट हात पारे।

प्रधानमन्त्री बालेन बैठक हलबाट बाहिरिएको विषयमा कांग्रेसले माग्यो जवाफ

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग औपचारिक जवाफ माग गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह बैठक नसकिँदै बाहिरिएको घटनाप्रति कांग्रेसले आपत्ति जनाएको हो।

कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको यस्तो व्यवहार सामान्य विषय नभएको भन्दै सरकारको स्पष्ट जवाफ माग गरेकी छन्।

उनले भनिन्, ‘हिजो बिरलै देखिने दृश्य देख्यौँ। प्रधानमन्त्री बाहिरिनु सामान्य विषय होइन। सरकारबाट स्पष्ट जवाफ दिइयोस्। पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हो। हामी प्रधानमन्त्रीको जवाफ चाहन्छौँ।’

 

श्रममन्त्रीको सचिवालयमा कार्यरत मियाँ पक्राउ

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ गम्भीर आपराधिक कसुरमा पक्राउ परेका छन्।

सप्तरीको महादेवा गाउँपालिका–१ बल्थी घर भई हाल राजविराज नगरपालिका–३ पाख्रेल टोल बस्ने २७ वर्षीय मियाँलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा सोमबार राजविराजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार मियाँसहितको समूहले २०८२ फागुन १४ गते राजविराज नगरपालिका–३ हनुमान चोकमा राजु कुमार चौधरीलाई अपहरण गरी लुटपाट गरेको आरोप छ। सो दिन बिहान करिब ८ बजे मियाँसहित ३ जना व्यक्तिले मोटरसाइकल प्रयोग गरी अपहरणको योजना कार्यान्वयन गरेका थिए।

पीडितका अनुसार उनीहरूलाई बन्दुक देखाएर नियन्त्रणमा लिई राजविराज नगरपालिका–८ स्थित सुनसान क्षेत्रमा लगिएको थियो। त्यहाँ कुटपिट गर्दै मोबाइल, २ तोला सुनको सिक्री र १ लाख ३० हजार रुपैयाँ लुटिएको बताइएको छ। साथै, अमानवीय व्यवहार गर्दै अपमानित गरिएको पनि पीडितको आरोप छ।

यस घटनामा संलग्न अन्य ३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ। जिल्ला अदालत सप्तरीले वैशाख २४ गते मियाँविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो।

प्रहरीका अनुसार मियाँविरुद्ध अपहरण तथा शरीर बन्धक, अमानवीय व्यवहार तथा लुटपाटसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी अर्को मुद्दा समेत रहेको र त्यसमा पनि उनी फरार रहेको बताइएको छ।

मियाँ हालै मात्र २०८२ चैत २७ गते मन्त्री यादवको सचिवालयमा हलुका सवारी चालक पदमा नियुक्त भएका थिए।

WhatsApp Image 2026-05-12 at 11.36.19

WhatsApp Image 2026-05-12 at 11.36.18

WhatsApp Image 2026-05-12 at 11.36.29

उत्कृष्ट नर्सहरुलाई ‘डेजी अवार्ड’ले सम्मान गर्दै ‘नर्भिक’

काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा उत्कृष्ट नर्सिङ कर्मचारीलाई ‘डेजी अवार्ड’ प्रदान गर्ने भएको छ। अस्पतालले अमेरिकास्थित डेजी फाउन्डेसनसँगको सहकार्यमा भोलि (बैशाख २९ गते / १२ मे) अवार्ड वितरण गर्ने जनाएको हो।

अस्पतालले केही समयअघि नै उत्कृष्ट नर्स छनोटका लागि मनोनयन प्रक्रिया खुला गरेको थियो। यस क्रममा बिरामी, बिरामीका आफन्त, सहकर्मी नर्स, चिकित्सक तथा अन्य कर्मचारीहरूले आफूलाई उत्कृष्ट लागेका नर्सलाई सिफारिस गरेका थिए। सोही मनोनयनबाट छनोट भएका उत्कृष्ट ४ जना नर्सिङ कर्मचारीलाई ‘डेजी अवार्ड’ मार्फत सम्मान गरिने अस्पतालले जनाएको छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रका अनुसार नर्सिङ पेसामा संलग्न कर्मचारीको मनोबल बढाउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो। उनले अवार्डले नर्सहरूको सेवाप्रति समर्पण अझ बढाउने विश्वास व्यक्त गर्दै समग्र अस्पताल सेवामा सकारात्मक ऊर्जा थपिने बताए।

नर्भिक अस्पतालले नर्सहरूको सेवा र दक्षतालाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिने उद्देश्यले डेजी फाउन्डेसनसँग सहकार्य गरेको हो। हाल डेजी फाउन्डेसनमा ४६ देशका ७ हजारभन्दा बढी स्वास्थ्य संस्था आबद्ध रहेका छन्।

यसै अवसरमा नर्भिक अस्पतालले १० वर्षभन्दा बढी समयदेखि निरन्तर सेवा दिइरहेका २१ जना नर्सिङ कर्मचारीलाई पनि विशेष सम्मान गर्ने जनाएको छ। अस्पतालले नर्सिङ पेसालाई प्राथमिकतामा राख्दै सेवा-सुविधा र पारिश्रमिकमा सुधार गर्दै आएको पनि जनाएको छ।

राष्ट्रपति भेट्न शीतल निवास पुगे सभामुख अर्याल, के भयो कुराकानी ?

काठमाडौं। सभामुख डोलप्रसाद अर्याल (डिपी) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न मंगलबार शीतल निवास पुगेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

भेटवार्ताको विस्तृत विषय सार्वजनिक नभए पनि समसामयिक परिस्थितिबारे विचार आदान–प्रदान भएको बताइएको छ।

 

‘शिव’को भूमिकामा ‘रणवीर सिंह’?

एजेन्सी। ‘धुरन्धर’ को उल्लेखनीय सफलतापछि अभिनेता रणवीर सिंहको आगामी परियोजनाबारे दर्शक तथा फ्यानहरूमा उत्साह बढेको छ। उनका नयाँ फिल्मलाई लिएर विभिन्न अनुमान र चर्चाहरू चलिरहेका छन्।

भारतीय मिडिया रिपोर्टअनुसार रणवीर सिंह एक ठूलो पौराणिक–काल्पनिक फिल्ममा देखिने तयारीमा छन्। यो फिल्म लेखक अमीश त्रिपाठीको चर्चित उपन्यास ‘द इमोर्टल्स अफ मेलुहा’ मा आधारित हुने बताइएको छ।

उक्त कथामा भगवान शिवको चरित्रलाई केन्द्रमा राखिएको छ, जसमा उनलाई एक मानव योद्धाका रूपमा देखाइन्छ र उनको देवत्वतर्फको यात्रालाई चित्रण गरिएको हुन्छ।

रिपोर्टअनुसार यो प्रोजेक्ट एकल फिल्म नभई तीन भागमा निर्माण हुने त्रयी स्वरूपमा विकास गरिनेछ। हाल यसको प्रारम्भिक लेखन तथा प्राविधिक तयारी भइरहेको जनाइएको छ।

फिल्मको निर्देशनका लागि भने अझै कुनै नाम तय गरिएको छैन। पटकथा अन्तिम चरणमा पुगेपछि मात्र निर्देशक चयन गरिने बताइएको छ।

यस फिल्ममा रणवीर सिंह मुख्य कलाकारसँगै निर्माण पक्षमा पनि संलग्न हुने बताइएको छ। फिल्म बिर्ला स्टुडियोसँगको सहकार्यमा निर्माण हुने योजना रहेको छ।

फिल्मको छायांकन सन् २०२८ तिर सुरु गर्ने लक्ष्य राखिएको छ। त्यसअघि रणवीरले अन्य फिल्म परियोजनामा काम गर्नेछन्।

रिपोर्टअनुसार उनी मार्च २०२७ देखि आदित्य धरको निर्देशनमा बन्ने अर्को फिल्मको छायांकनमा व्यस्त हुनेछन्। त्यसपछि जय मेहताको फिल्म ‘प्रलय’ मा पनि काम गर्ने तयारी छ।

रणवीर सिंहको ‘धुरन्धर’ का दुवै भागले नेपालसहित विभिन्न बजारमा राम्रो व्यापार गरेको बताइएको छ, जसले उनको आगामी प्रोजेक्टप्रति अझै बढी चासो बढाएको छ।

नयाँ सरकारको नीति तथा कार्यक्रम : खेलकुदमा केहि नयाँ छैन

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रलाई पर्यटन र अर्थतन्त्रसँग जोड्ने लक्ष्य अघि सारेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खेलकुदलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र आर्थिक विकाससँग जोड्ने उल्लेख गरिएको हो।

नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विद्यालय तहदेखि नै प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने योजना समावेश गरिएको छ। यसमार्फत नयाँ प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्य राखिएको छ।

त्यस्तै, खेल क्षेत्रको व्यावसायिकीकरणलाई प्रोत्साहन गर्ने, निजी क्षेत्रको सहभागिता बढाउने तथा खेलाडीहरूको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको छ।

सरकारले खेलकुदलाई केवल मनोरञ्जनको माध्यम नभई रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्ने नीति लिएको छ।

आजको अर्थ समिति बैठक (तस्वीरहरू)

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिले चार वटा कार्यक्षेत्रगत उपसमिति गठन गरेको छ।

मंगलबार बसेको समितिको बैठकले सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी क्षेत्र तथा लगानी प्रवर्द्धन, र वित्तीय तथा संघीयता अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको हो।

 

अर्थ समितिले गर्‍यो ४ उपसमिति गठन, के-के ?

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिले चार वटा कार्यक्षेत्रगत उपसमिति गठन गरेको छ। मंगलबार बसेको समितिको बैठकले सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी क्षेत्र तथा लगानी प्रवर्द्धन, र वित्तीय तथा संघीयता अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको हो।

समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार उपसमितिहरूका कार्यक्षेत्र र जिम्मेवारी स्पष्ट गर्दै कार्यादेश (टीओआर) समेत तयार गरिएको छ। उनले उपसमितिहरूलाई तोकिएको विषयगत क्षेत्रअनुसार अध्ययन, विश्लेषण तथा सुझाव तयार गर्न जिम्मेवारी दिइएको जानकारी दिए।

उनका अनुसार गठन गरिएका उपसमितिहरूको कार्यावधि ६ महिनाको हुनेछ। आवश्यकता अनुसार अधिकतम एक महिनासम्म थप गर्न सकिने व्यवस्था पनि गरिएको छ। साथै, उपसमितिहरूले नियमित रूपमा लिखित प्रगति प्रतिवेदन तयार गरी समितिमा पेश गर्नुपर्ने प्रावधान राखिएको छ।

समितिले अर्थतन्त्र, वित्तीय प्रणाली, लगानी प्रवर्द्धन र संघीय वित्त व्यवस्थापनसँग सम्बन्धित विषयलाई थप प्रभावकारी बनाउन उपसमिति गठन गरिएको जनाएको छ।

स्वास्थ्यचौकी जीर्ण : चुहिने छतमुनि उपचार

सल्यान। सल्यानको बागचौर नगरपालिका–८ कोटमौलामा रहेको स्वास्थ्यचौकी भवन बाहिरबाट हेर्दा व्यवस्थित र सुविधासम्पन्न देखिए पनि भित्रको अवस्था भने अत्यन्तै दयनीय बनेको छ। भवनको छतबाट पानी चुहिने, भित्ताहरू रसाउने र कोठाभरि बाल्टिन राखेर पानी थाप्नुपर्ने अवस्था भएपछि स्वास्थ्य सेवा प्रवाहमै समस्या देखिएको छ।

स्थानीयका अनुसार झन्डै चार-पाँच वर्षदेखि छत चुहिने समस्या निरन्तर रहँदै आएको छ। वर्षात्को समयमा स्वास्थ्यचौकीभित्रै पानी पस्ने भएकाले स्वास्थ्यकर्मी र सेवाग्राही दुवैले छाता ओढेर सेवा लिनुपर्ने बाध्यता रहेको छ।

वि.सं. २०३० सालमा स्थापना भएको उक्त स्वास्थ्यचौकीको पक्की भवन करिब १२ वर्षअघि भवन तथा सहरी विकास कार्यालय सुर्खेतले निर्माण गरेको थियो। तर निर्माणपछि केही वर्षमै छतबाट पानी चुहिन सुरु भए पनि समयमै मर्मत नहुँदा भवनको अवस्था क्रमशः बिग्रँदै गएको स्थानीयले बताएका छन्।

स्वास्थ्यचौकीका इन्चार्ज दीपेन्द्र गिरीका अनुसार भवन मर्मतका लागि पटक-पटक सम्बन्धित निकायमा अनुरोध गरिए पनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन। उनका अनुसार वर्षात्को समयमा बिरामीलाई सेवा दिन निकै कठिनाइ हुने गरेको छ।

दैनिक करिब २५ देखि ३० जनासम्म सेवाग्राही आउने उक्त स्वास्थ्यचौकीमा स्थानीय वडा नं. ८ का बासिन्दासहित वडा नं. ९ र छिमेकी रोल्पाको गंगादेव गाउँपालिका–३ र ५ का नागरिकहरूले समेत सेवा लिँदै आएका छन्। तर, वर्षायाम सुरु भएसँगै उपचारभन्दा पहिले भवनभित्र पानी व्यवस्थापन गर्ने चिन्ता बढ्ने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

स्थानीय वडाध्यक्ष सुशीलजंग चन्दका अनुसार भवन बाहिरबाट राम्रो देखिए पनि वर्षा हुँदा भित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण बन्ने गरेको छ। उनका अनुसार सबै कोठामा बाल्टिन राखेर सेवा दिनुपर्ने बाध्यता छ भने भित्ताहरूमा चिरा परेका छन्।

६ सय ४० भन्दा बढी घरधुरी र करिब ६ हजार ५ सय जनसंख्या रहेको वडाको प्रमुख स्वास्थ्य सेवा केन्द्र नै जीर्ण अवस्थामा पुग्दा स्थानीय चिन्तित बनेका छन्। वडाध्यक्ष चन्दले नगरपालिका तथा सम्बन्धित निकायलाई बारम्बार जानकारी गराउँदा पनि मर्मतका लागि कुनै पहल नभएको बताए।

समयमै मर्मत तथा पुनर्निर्माण नहुँदा स्वास्थ्यजस्तो संवेदनशील सेवामा समेत जोखिम बढेको र कुनै दिन ठूलो दुर्घटना हुन सक्ने अवस्था देखिएको स्थानीयले बताएका छन्।

८ उपयोगी वेबसाइट र डिजिटल टुल, जसले तपाईंको दैनिक काम स्मार्ट बनाउँछन्

काठमाडौं। प्रविधिको तीव्र विकाससँगै मानिसहरूको दैनिक कामकाज झन् सहज, छिटो र प्रभावकारी बन्दै गएको छ। अहिले इन्टरनेटमा यस्ता धेरै वेबसाइट र डिजिटल टुल उपलब्ध छन्, जसले समय बचत गर्न, कामलाई व्यवस्थित बनाउन र उत्पादकत्व बढाउन मद्दत गर्छन्।

कहिलेकाहीँ अस्थायी इमेल चाहिन सक्छ, कहिले पीडीएफ सम्पादन गर्नुपर्ने हुन्छ, त कहिले भिडियो, संगीत वा व्यवसायिक नाम खोज्नुपर्ने आवश्यकता पर्न सक्छ। यस्ता कामलाई सजिलो बनाउन विभिन्न निःशुल्क तथा एआई–आधारित प्लेटफर्महरू उपयोगी साबित भइरहेका छन्।

यी हुन् तपाईको दैनिकीलाई झन् सहज र स्मार्ट बनाउने डिजिटल टूल्स

१. टेम्पोलर – टेम्पररी इमेल सेवा
टेम्पोलर एउटा अस्थायी इमेल सेवा हो। जसले प्रयोगकर्तालाई तुरुन्तै नयाँ इमेल एड्रेस उपलब्ध गराउँछ। कुनै वेबसाइट वा एपमा साइन-अप गर्दा व्यक्तिगत इमेल प्रयोग गर्न नचाहेमा यो निकै उपयोगी हुन्छ। यसले स्प्याम इमेलबाट बच्न र गोपनीयता सुरक्षित राख्न सहयोग गर्छ। काम सकिएपछि इमेल हटाउन पनि सकिन्छ। यो सेवा निःशुल्क, छिटो र प्रयोग गर्न निकै सजिलो मानिन्छ।

२. साउन्डड्र डट आइओ – एआईमार्फत संगीत निर्माण
संगीत बनाउन रुचि राख्नेहरूका लागि साउन्डड्र डट आइओ उपयोगी एआई-आधारित प्लेटफर्म हो। यसमा केही आधारभूत विकल्प छनोट गरेपछि एआईले स्वतः नयाँ संगीत ट्र्याक तयार गरिदिन्छ। नयाँ सिक्ने व्यक्ति तथा अनुभवी संगीतकर्मी दुवैले यसलाई प्रयोग गर्न सक्छन्। विभिन्न शैलीका संगीत बनाउन सकिने भएकाले यो सिर्जनात्मक काममा उपयोगी टुल बनेको छ।


३. पीडीएफ इस्केप- निःशुल्क पीडीएफ एडिटिङ टुल
पीडीएफ फाइल सम्पादन गर्नुपर्ने अवस्थामा पीडीएफ इस्केप प्रभावकारी विकल्प हुन सक्छ। यसबाट टेक्स्ट थप्ने, फर्म भर्ने, फोटो राख्ने तथा सामान्य सम्पादन गर्न सकिन्छ। अलग सफ्टवेयर डाउनलोड नगरी अनलाइनमै प्रयोग गर्न सकिने भएकाले यो धेरैका लागि सुविधाजनक बनेको छ। विशेषगरी विद्यार्थी र कार्यालय प्रयोजनका लागि यो उपयोगी मानिन्छ।


४. टाइनी वाउ – ठूलो फाइल कंप्रेस गर्ने टुल
ठूला फाइल पठाउन वा स्टोर गर्न समस्या हुने अवस्थामा टाइनी वाउ उपयोगी टुल हो। यसले पीडीएफ, फोटो तथा कागजातको साइज घटाउन मद्दत गर्छ। फाइलको गुणस्तर धेरै नघटाई कंप्रेस गर्न सकिने भएकाले शेयर गर्न सहज हुन्छ। यो निःशुल्क सेवा हो र प्रयोग गर्न कुनै दर्ता आवश्यक पर्दैन।


५. पीडीएफ ड्राइभ – निःशुल्क ई–बुक र पीडीएफ स्रोत
पढ्न मन पराउनेहरूका लागि पीडीएफ ड्राइभ उत्कृष्ट डिजिटल स्रोत हो। यहाँ हजारौँ निःशुल्क ई–बुक तथा पीडीएफ सामग्री उपलब्ध छन्। विद्यार्थी, अनुसन्धानकर्ता तथा पुस्तकप्रेमीहरूले मोबाइल वा कम्प्युटरमा सजिलै डाउनलोड गरेर अध्ययन गर्न सक्छन्। यसको सर्च प्रणाली पनि सजिलो भएकाले आवश्यक पुस्तक छिट्टै फेला पार्न सकिन्छ।


६. टेम्प–मेल – अस्थायी इमेल जनरेट गर्ने सेवा
टेम्प-मेल पनि अस्थायी इमेल सेवा दिने लोकप्रिय प्लेटफर्म हो। कुनै वेबसाइटमा वास्तविक इमेल दिन नचाहेमा यसबाट तुरुन्तै नयाँ इमेल बनाउन सकिन्छ। यसले स्प्यामबाट बच्न र व्यक्तिगत गोपनीयता सुरक्षित राख्न मद्दत गर्छ। प्रयोग गर्न सरल भएकाले धेरै इन्टरनेट प्रयोगकर्ताले यसलाई उपयोग गरिरहेका छन्।


७. नेमलिक्स – व्यवसायिक नाम सुझाव दिने एआई टुल
नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूका लागि नेमलिक्स उपयोगी एआई–आधारित टुल हो। यसले प्रयोगकर्ताले दिएको कीवर्डका आधारमा आकर्षक र रचनात्मक व्यवसायिक नामहरू सुझाव दिन्छ। व्यवसायको पहिचान निर्माण गर्न राम्रो नाम आवश्यक हुने भएकाले यो टुल स्टार्टअप तथा उद्यमीहरूका लागि प्रभावकारी मानिन्छ।


८. मिक्सकिट – निःशुल्क स्टक भिडियो र संगीत
मिक्सकिट कन्टेन्ट क्रिएटर, भिडियो एडिटर तथा डिजाइनरहरूका लागि उपयोगी प्लेटफर्म हो। यहाँ उच्च गुणस्तरका स्टक भिडियो र संगीत निःशुल्क डाउनलोड गर्न सकिन्छ। धेरै सामग्री कपीराइट समस्याबिना प्रयोग गर्न मिल्ने भएकाले युट्युब भिडियो, प्रस्तुति वा अन्य डिजिटल सामग्री निर्माणमा यो निकै उपयोगी बनेको छ।

‘मन विनाको धन’को सिक्वेल बन्ने, पूजा शर्मा मुख्य भूमिकामा

काठमाडौं। गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘मन विनाको धन’को सिक्वेल निर्माण हुने भएको छ। फिल्मका निर्माता तथा निर्देशक टंक बुढाथोकीले नै दोस्रो श्रृंखला निर्माण तथा निर्देशन गर्ने भएका हुन्।

टंक बुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुति रहने फिल्ममा अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। निर्माण पक्षका अनुसार फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने कथा र संगीत निर्देशक बुढाथोकी स्वयंको रहनेछ।

फिल्मको छायाङ्कन आगामी भदौ महिनाबाट सुरु गर्ने तयारी गरिएको निर्माण टिमले जनाएको छ। अन्य कलाकारको टुंगो भने अझै लागिनसकेको बताइएको छ।

निर्देशक बुढाथोकीले अहिले फिल्मको प्रि-प्रोडक्सनको काम तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिएका छन्। उनले सुरुवातमै पूजा शर्मालाई फिल्ममा अनुबन्धित गरिएको र अन्य कलाकारलाई पनि क्रमशः जोड्दै लगिने बताए।

अभिनेत्री पूजा शर्माले फिल्मको कथा मन परेकाले आफू परियोजनामा आबद्ध भएको बताएकी छन्। फिल्मको निर्माण विष्णु माया मैनालीले गर्ने जनाइएको छ।

४४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिन अर्थात् सोमबार तोलामा चार सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः चार हजार चार सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। सोमबार प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार ६ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यसअनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ५५ रुपैयाँले वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस चार हजार सात सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सूर्यविनायक धुलिखेल सडक निर्माण सुस्त, सरोकारवालाको चासो (तस्वीरहरू)

काठमाडौं। भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा विस्तार भइरहेको सडक आयोजनाको निर्माण कार्यमा ढिलासुस्ती भएपछि स्थानीय तह र सरोकारवाला निकायले चासो व्यक्त गरेका छन्। आइतबार बनेपामा आयोजना, निर्माण व्यवसायी तथा सरोकारवालाबीच भएको छलफलमा वर्षायामअघि यात्रुलाई सहज आवागमनको व्यवस्था मिलाउन निर्माण कार्य तीव्र बनाउन जोड दिइएको हो।

छलफलमा सडक विस्तारअन्तर्गत बनेपा क्षेत्रका सर्भिस लेन तथा सहायक सडकहरू अवरोधरहित रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता निर्माण पक्षले जनाएको छ। बनेपास्थित पुण्यमाता खोला पुल र भैंसीपाटी खोला पुल आसपास अवरुद्ध बनेका सर्भिस लेन तथा सहायक मार्ग तत्काल सञ्चालनमा ल्याउन आवश्यक निर्माण कार्य अघि बढाइने बताइएको छ।
त्यस्तै पुलबजार क्षेत्रमा वर्षायाममा हुने डुबान रोक्न पुण्यमाता खोला गहिर्याउने, सफाइ गर्ने तथा संरक्षणका काम अगाडि बढाइने जनाइएको छ। खोलामाथिको पुलको सुरक्षाका लागि आवश्यक संरचनात्मक काम नि शीघ्र सम्पन्न गरिने तयारी गरिएको छ।
सरोकारवालाले मुख्य सडक पूर्ण रूपमा कालोपत्र गर्न तत्काल सम्भव नभए पनि कम्तीमा सर्भिस ट्र्याक सञ्चालनयोग्य र सुरक्षित राख्नुपर्नेमा जोड दिएका छन्। सडक निर्माणको अव्यवस्था र धुलाम्मे अवस्थाका कारण दैनिक यात्रा प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिएको थियो।
आयोजनाका अनुसार सूर्यविनायक–धुलिखेल सडक विस्तारको समग्र भौतिक प्रगति हाल करिब ७० प्रतिशत पुगेको छ। मुख्य लेनमा कालोपत्र गर्ने तयारी भइरहे पनि बिटुमिन अभावका कारण काम प्रभावित भएको जनाइएको छ। आवश्यक सामग्री व्यवस्थापनका लागि पहल भइरहेको आयोजनाले जनाएको छ।
करीब १५ दशमलव ८ किलोमिटर लामो उक्त सडक आयोजना तीन वर्षअघि सुरु गरिएको हो। पछिल्ला दुई महिनायता निर्माणको गति सुस्त बनेको छ। निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि तथा बजारको असहज अवस्थाका कारण काम प्रभावित भएको निर्माण कम्पनीहरूको भनाइ छ। यसअघि चालु आर्थिक वर्षभित्र अधिकांश काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि हाल सो लक्ष्य प्रभावित बनेको देखिएको छ।

तस्वीरहरू:

दाँतेको महाकाव्य ‘इन्फर्नो’ : मध्यकालमै खोलेको थियो ‘बिग ब्याङ’को रहस्य

काठमाडौं। दाँते अलिगिएरी सन् १२६५ देखि १३२१ सम्मका मध्यकालका प्रसिद्ध इटालेली कवि, दार्शनिक र राजनीतिज्ञ थिए। उनी फ्लोरेन्समा जन्मिएका थिए र इटालीका राष्ट्रिय कवि मानिन्छन्। उनको जीवनमा बिआत्रिचे नामकी प्रेमिकाको गहिरो प्रभाव रह्यो, जसबाट प्रेरित भएर उनले ‘वीटा नुओवा’ लेखे।

दाँतेले पहिलो पटक ल्याटिनको सट्टा साधारण इटालेली भाषामा साहित्य लेखेर इटालेली भाषालाई साहित्यिक रूपमा स्थापित गरे। राजनीतिक द्वन्द्वका कारण उनी फ्लोरेन्सबाट निर्वासित भए र सन् १३२१ मा रावेन्नामा उनको मृत्यु भयो।

उनको सबैभन्दा प्रसिद्ध कृति ‘डिभाइन कमेडी’ हो। जसमा नरक, शुद्धिकरण र स्वर्गको यात्रा वर्णन गरिएको छ।

दाँतेको अर्को महाकाव्य  ‘इन्फर्नो’ इटालियन साहित्यको अत्यन्त महत्वपूर्ण कृति ‘डिभाइन कमेडी’ को पहिलो भाग हो। यस कृतिलाई धार्मिक दृष्टिकोण वा साहित्यिक कल्पनाको रूपमा मात्र नभई मानव सभ्यताको प्रारम्भिक ब्रह्माण्डीय चेतनाको अभिव्यक्ति मान्ने विद्वानहरूको संख्या पनि बढ्दो छ।

विशेषगरी भू-पौराणिक अध्ययन अर्थात् पुराना मिथक र कथाहरूमा लुकेका प्राकृतिक घटनाहरू खोज्ने अध्ययनका आधारमा यस कृतिलाई नयाँ दृष्टिले व्याख्या गरिएको छ।

यस दृष्टिकोणलाई विस्तार गर्ने प्रमुख विद्वानहरूमध्ये एक हुन् वेस्ट भर्जिनियाको मार्शल विश्वविद्यालयका प्राध्यापक टिमोथी बर्बेरी। उनका अनुसार दाँतेको ‘इन्फर्नो’ मा वर्णन गरिएको संरचना र घटनाहरूले कुनै विशाल आकाशीय वस्तु पृथ्वीमा ठोक्किएको अवस्थाको कल्पनासँग उल्लेखनीय समानता राख्छन्।

लुसिफरको पतन र विनाशकारी प्रभावको प्रतीकात्मक चित्रण

कवितामा लुसिफर अर्थात् शैतानलाई स्वर्गबाट निष्कासित भएपछि पृथ्वीमा खस्ने एक विशाल अस्तित्वको रूपमा चित्रण गरिएको छ। यो पतन केवल धार्मिक कथा मात्र नभई अत्यन्त शक्तिशाली खगोलीय टक्करको प्रतीकात्मक वर्णन भएको बर्बेरीको तर्क छ।

उनका अनुसार दाँतेले यस घटनालाई यस्तो विनाशकारी प्रभावका रूपमा कल्पना गरेका छन्, जसले पृथ्वीको सतह मात्र होइन, यसको आन्तरिक संरचनासमेत बदलिदियो। यही टक्करको परिणामस्वरूप ‘नरक’ को संरचना निर्माण भएको र विस्थापित जमिन माथि उठेर ‘माउन्ट अफ पर्गेटोरी’ बनेको वर्णन पाइन्छ।

यो अवधारणाले आधुनिक विज्ञानमा उल्कापिण्ड वा धूमकेतु पृथ्वीमा ठोक्किँदा हुने भूगर्भीय परिवर्तनसँग रोचक समानता देखाउँछ।

‘इन्फर्नो’ को साहित्यिक संरचना र नरकको यात्रा

सन् १३०८ देखि १३२१ बीच लेखिएको मानिने यो कृतिमा मुख्य पात्र दाँते स्वयंलाई प्राचीन रोमन कवि भर्जिलले मार्गदर्शन गर्छन्। उनीहरू नरकका नौ तहहरू हुँदै यात्रा गर्छन्, जहाँ प्रत्येक तह विभिन्न पाप र नैतिक पतनको प्रतीक हो।

यो यात्रा लिम्बोबाट सुरु हुन्छ, जहाँ आत्माहरू शान्त तर अधूरो अवस्थाको प्रतीकका रूपमा रहन्छन्। त्यसपछि कामवासना, लोभ, हिंसा र विश्वासघात जस्ता पापका तहहरू पार गर्दै उनीहरू गहिरो अन्धकारतर्फ अघि बढ्छन्।

कवितामा क्लियोपेट्रा, अकिलिस, हेलेन अफ ट्रोय, पेरिस, अलेक्जेन्डर द ग्रेट र अटिला द हुन जस्ता ऐतिहासिक तथा पौराणिक पात्रहरूको उल्लेख गरिएको छ, जसले मानव इतिहासमा शक्ति, प्रेम, युद्ध र पतनका विभिन्न रूपहरू प्रतिनिधित्व गर्छन्।

शैतानको केन्द्र र ब्रह्माण्डीय संरचनाको कल्पना

नरकको सबैभन्दा गहिरो भागमा शैतानलाई तीन टाउको भएको विशाल प्राणीका रूपमा चित्रण गरिएको छ। प्रत्येक टाउकोले इतिहासका सबैभन्दा ठूला विश्वासघातीहरू जुलियस सिजरका हत्यारा ब्रुटस र क्यासियस तथा येशूलाई धोका दिने जुडास इस्कारियटलाई सधैं चपाइरहेको हुन्छ।

यो चित्रण केवल धार्मिक प्रतीक मात्र नभई ब्रह्माण्डीय विनाश र अराजकताका गहिरा तहहरूको प्रतिनिधित्व भएको पनि मानिन्छ।

पृथ्वीको केन्द्र हुँदै यात्रा र दक्षिणी गोलार्धको पुनःनिर्माण

कथाको एक महत्वपूर्ण मोडमा दाँते र भर्जिल नरकबाट बाहिर निस्कन पृथ्वीको केन्द्र हुँदै यात्रा गर्छन्। त्यसपछि उनीहरू दक्षिणी गोलार्धमा पुग्छन्, जुन मध्ययुगीन समयमा धेरै हदसम्म अज्ञात र महासागरले ढाकिएको क्षेत्र मानिन्थ्यो।

कथाअनुसार लुसिफरको पृथ्वीमा खसाइले ठूलो भूगर्भीय परिवर्तन ल्यायो। विस्थापित जमिन माथि उठेर ‘माउन्ट अफ पर्गेटोरी’ बनेको र नरकका तहहरू पृथ्वीको भित्री संरचनाको रूपमा स्थापित भएको वर्णन पाइन्छ।

बर्बेरीका अनुसार यो सम्पूर्ण संरचना कुनै विशाल उल्कापिण्ड वा धूमकेतु पृथ्वीमा ठोक्किँदा हुने प्रभावसँग तुलना गर्न सकिन्छ, जसले ग्रहको सतह र भित्री संरचना दुवैलाई पुनःआकार दिन सक्छ।

आधुनिक विज्ञानसँगको सम्भावित सम्बन्ध

आधुनिक भू-विज्ञान र खगोल विज्ञानले पृथ्वीको इतिहासमा धेरै ठूला टक्करहरू भएको प्रमाण प्रस्तुत गरिसकेको छ। उदाहरणका लागि करिब ६६ मिलियन वर्षअघि डाइनोसोरहरूको विनाशसँग सम्बन्धित टक्कर र ४.५ अर्ब वर्षअघि पृथ्वी-चन्द्रमा प्रणाली निर्माण गराउने विशाल टक्कर।

यी घटनाहरूले पृथ्वीको संरचना पूर्ण रूपमा परिवर्तन गर्न सक्ने क्षमता राख्छन्। बर्बेरीको विचार अनुसार दाँतेले यस्तै कुनै घटनाको सांस्कृतिक वा प्रतीकात्मक सम्झना आफ्नो साहित्यमा समेटेका हुन सक्छन्।

मध्ययुगीन सोच र असाधारण कल्पनाशक्ति

दाँतेको समयमा आकाशलाई स्थिर, अपरिवर्तनीय र दिव्य संरचना मानिन्थ्यो। आकाशीय वस्तु पृथ्वीमा खस्न सक्छ भन्ने विचार नै असामान्य र लगभग असम्भव मानिन्थ्यो।

तर ‘इन्फर्नो’ मा प्रस्तुत गरिएको पतन र विनाशको चित्रणले देखाउँछ कि दाँतेले आफ्नो समयभन्दा निकै अगाडि गएर ब्रह्माण्डीय परिवर्तन र गतिशीलताको कल्पना गरेका थिए।

यसले उनलाई केवल धार्मिक कवि मात्र नभई एक गहिरो दार्शनिक र सम्भावित रूपमा प्रारम्भिक वैज्ञानिक सोचका प्रतिनिधि पनि बनाउँछ।

दाँतेको ‘इन्फर्नो’ केवल नरकको धार्मिक चित्रण मात्र नभई यो मानव कल्पनाशक्ति, प्रतीकात्मक सोच र ब्रह्माण्डप्रतिको प्रारम्भिक जिज्ञासाको अद्भुत मिश्रण हो।

आधुनिक भू-पौराणिक अध्ययन र विज्ञानका दृष्टिले हेर्दा यसले खगोलीय टक्कर, पृथ्वीको संरचनात्मक परिवर्तन र मानव चेतनाको विकासबीचको सम्बन्धलाई नयाँ ढंगले बुझ्न मद्दत गर्छ।

यद्यपि यी व्याख्याहरू वैज्ञानिक रूपमा पूर्ण रूपमा प्रमाणित छैनन्, तिनीहरूले साहित्य र विज्ञानबीचको सीमालाई धुमिल बनाइदिन्छन् र मानव सोचको गहिराइलाई अझ विस्तृत रूपमा उजागर गर्छन्।

एसईईको रिजल्ट आएपछि १५ वर्षीय किशोरले गरे आत्महत्या

वीरगन्ज। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको केही समयपछि वीरगन्जमा एक १५ वर्षीय किशोर मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रारम्भिक अनुसन्धानमा उनी नतिजाप्रति तनावमा रहेको देखिएको छ।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका क्षेत्रमा बसोबास गर्ने ती किशोर आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका थिए। घटनापछि परिवार तथा स्थानीयवासी शोकमा डुबेका छन्।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

एसईई नतिजापछि धेरै विद्यार्थीमा मानसिक दबाब, डर र निराशा बढ्न सक्ने भन्दै मनोविद्हरूले अभिभावकलाई बालबालिकासँग खुला संवाद गर्न आग्रह गरेका छन्। उनीहरूले परीक्षाको नतिजालाई जीवनको अन्तिम निर्णयका रूपमा नलिन र बालबालिकालाई भावनात्मक साथ दिनुपर्ने बताएका छन्।

शिक्षाविद्हरूका अनुसार परीक्षा केवल सिकाइको एउटा मूल्यांकन प्रक्रिया मात्र भएकाले असफलता वा कम नतिजाले भविष्य समाप्त नहुने सन्देश परिवार र समाजले दिन आवश्यक छ। विद्यालय र अभिभावक दुवैले विद्यार्थीको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको सुझाव छ।