`

जय नेपाल पार्टीले कुम्मायकमा गाउँ तथा वडा कार्यसमिति गठन गर्‍यो

पाँचथर । जय नेपाल पार्टीले स्थानीय तहमा संगठन विस्तार सुरु गरेको छ। संगठन विस्तार अभियानअन्तर्गत पार्टीले पाँचथरको कुम्मायक गाउँपालिकामा गाउँ कार्यसमिति र वडा कार्यसमिति गठन गरेको हो।

पार्टीका वरिष्ठ सदस्य प्रवीण भण्डारीको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं सचिवालय प्रमुख सगुन सुन्दर लावतीको उपस्थितिमा सोमबार बसेको भेलाले चन्द्रबहादुर लावतीको सभापतित्वमा २१ सदस्यीय कुम्मायक गाउँ कार्यसमिति गठन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा ऋतुवर्ण सम्बाहाम्फे र देशपाल लावती चयन भएका छन् भने सचिवको जिम्मेवारी रामकुमार लावतीलाई दिइएको छ।

यसैगरी कुम्मायक गाउँपालिका-१ मा श्यामलाल चाम्लिङको सभापतित्वमा १५ सदस्यीय वडा कार्यसमिति गठन गरिएको छ। कुम्मायक गाउँपालिकाका बाँकी वडा तथा टोलमा समेत संगठन विस्तारका लागि समिति गठन गरी जिम्मेवारी तोकिएको गाउँ कार्यसमितिका सचिव रामकुमार लावतीले लावतीले जानकारी दिए।

कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा नेता यामबहादुर ढुंगानाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि युवा नेता यामबहादुर ढुंगाना महाधिवेशन प्रतिनिधि पदको उम्मेदवार बनेका छन् ।

दुई दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय ढुंगाना पाँचथरको तुम्बेवा गाउँपालिका–१ आङ्नाका हुन् ।  खुला तर्फ उम्मेदवार बनेका ढुंगानाको उम्मेदवारी क्रम संख्या १४ हो । कांग्रेसको पार्टी पंक्तिमा चिरपरिचित ढुंगाना पार्टीको निष्ठा र विचारमा अविचलित नेताका रूपमा परिचित छन् । लामो समयदेखि पार्टी संगठनमा सक्रिय उनी पाँचथरका युवा नेताहरूमध्ये प्रभावशाली मानिन्छन् ।

ढुंगाना प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेका स्वकीय सचिवसमेत हुन् ।

पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै आएका ढुंगानाले महाधिवेशन प्रतिनिधिका रूपमा युवाको आवाज र संगठनका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।

दुई सय वर्षको नेपाल-भारत सीमा विवादको मझेरोमा छन्, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा’

काठमाडाैं। नेपाल र भारतबीचको सीमा विवाद आजको राजनीतिक विवाद मात्र होइन। सन् १८१६ को सुगौली सन्धिसम्म पुग्ने हो भने यसको नालीबेली केलाउन सहज हुन्छ। त्यो सन्धिपश्चात् बनेका नक्सा, ब्रिटिसकालीन प्रशासनिक अभिलेख, काली वा महाकाली नदीको उद्गमसम्बन्धी फरक-फरक व्याख्या, १९६२ को भारत-चीन युद्धपछि कालापानी क्षेत्रमा विकसित सुरक्षा अवस्था, लिपुलेकको व्यापारिक तथा धार्मिक मार्ग र पछिल्ला वर्षमा बढेको भारत-चीन रणनीतिक प्रतिस्पर्धाले यो प्रश्नलाई अझ जटिल बनाएका छन्।

नेपाल भारतको सिमाङ्कन र त्यसको प्रमाण- दुई सय वर्षभन्दा पुरानो यो विवादको सबैभन्दा महत्वपूर्ण प्रश्न आज पनि उस्तै छ। विगत लामो समयदेखि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे नेपालले विभिन्न फोरममा आफ्ना धारणा राख्दै आएको छ। ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालका अभिन्न भूभाग हुन्,’ यो नेपालको वर्षौँदेखिको औपचारिक दाबी हो। 

तर लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई लिएर भारतको दाबी फरक छ। भारतले नेपालको दाबीलाई अस्वीकार गर्दै ती क्षेत्र आफ्नो भूभागमा पर्ने बताउँदै आएको छ। 

नेपाल-भारत पश्चिमी सीमाको चर्चा गर्दा सन् १८१६ को सुगौली सन्धि प्रमुख ऐतिहासिक दस्तावेज हो। नेपाल-अंग्रेज युद्धपछि भएको यस सन्धिले तत्कालीन ब्रिटिस भारत र नेपालको सीमासम्बन्धी व्यवस्था निर्धारण गर्‍यो।

नेपालको वर्तमान आधिकारिक व्याख्या अनुसार सन्धिले महाकाली नदीलाई नेपालको पश्चिमी सीमाका रूपमा स्थापित गर्छ। नेपालले महाकाली नदीको वास्तविक उद्गम लिम्पियाधुरामा रहेको दाबी गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी महाकाली नदीको पूर्वतर्फ पर्ने भएकाले नेपालको भूभाग भएको बताउँदै आएको छ।

परराष्ट्र मन्त्रालयले ३ मे २०२६ मा जारी गरेको वक्तव्यमा १८१६ को सुगौली सन्धिदेखि नै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको धारणा स्पष्ट गरेको थियो। साथै, नेपालले आफ्नो धारणा भारत र चीन दुवैलाई कूटनीतिक माध्यमबाट जानकारी गराएको जनाएको थियो।

तर यो विवादको अर्कै पाटो छ। सुगौली सन्धिमा आज विवाद भइरहेको क्षेत्रमा सीमारेखा कुन बिन्दुबाट निर्धारण गर्ने भन्ने कुरा आधुनिक नक्सामा जस्तो स्पष्ट भौगोलिक निर्देशांकसहित उल्लेख गरिएको छैन। पछि तयार भएका नक्सा, नदीको उद्गम, प्रशासनिक नियन्त्रण र ऐतिहासिक दस्तावेजको व्याख्याहरु निर्णायक बहसका विषय बने।

नक्साहरू किन विवादको केन्द्रमा छन्?

नेपालको दाबी अनुसार पुराना ब्रिटिसद्वारा गरिएका सर्वेक्षण नक्साहरूको विशेष महत्व छ। प्रधानमन्त्री बालेन्द्र शाहले पनि जेठ १७ गतेको सम्बोधनमा त्यसतर्फ इंगित गर्न खोजेका थिए। ‘हामीले इंग्ल्याण्डसँग पनि कुरा गरिरहेका छौँ,’ त्यसक्रममा उनले भनेका थिए। 

नेपालका सीमा विज्ञहरूले पनि विभिन्न ब्रिटिसकालीन नक्सामा लिम्पियाधुराबाट आउने धारालाई काली नदीको मूलधारका रूपमा देखाइएको तर्क गर्दै आएका छन्। सीमा विज्ञ बुद्धिनारायण श्रेष्ठ लामो समयदेखि सुगौली सन्धि, काली नदीको उद्गम र ऐतिहासिक नक्सालाई नेपालको दाबीको आधारका रूपमा व्याख्या गर्छन्। 

तर सिमाङ्कन कै विषयको केन्द्रमा पुग्न तत्कालीन सन्धि, नक्सा, पत्राचार, प्रशासनिक अभिलेख, राजस्व विवरण, जनगणना र स्थानीय प्रशासनसँग सम्बन्धित सबै सन्दर्भ सामग्री सबैलाई सँगै राखेर परीक्षण गर्नुपर्छ।

काली नदीको उद्गम : विवादको मूल गाँठो

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा’ विवादको केन्द्रीय प्रश्न काली नदीको उद्गम हो। यदि महाकाली नदीको मूल स्रोत लिम्पियाधुराबाट आउने नदीलाई मान्ने हो भने सीमा रेखाको व्याख्या एउटा दिशामा जान्छ। 

तर कालापानी नजिकका अन्य धारालाई मूल काली नदी मान्ने हो भने सीमा रेखाको व्याख्या अर्कै हुन सक्छ।

यसले नदीको नाम मात्र पर्याप्त नहुने देखिन्छ। ऐतिहासिक नक्सामा नदीको नाम कसरी लेखिएको थियो, स्थानीय भूगोलमा कुन धारालाई मूलधारा मानिन्थ्यो, ब्रिटिस सर्वेक्षणले कुन धारालाई काली भनेर चिनायो र त्यसपछिका प्रशासनिक अभिलेखमा त्यसको प्रयोग कसरी भयो भन्ने प्रश्न अहिले पनि हाम्रा सामु उभिएको जटिलता हो।

१९६२ को युद्ध र कालापानी

नेपाल-भारत सीमा विवादको अर्को महत्वपूर्ण मोड सन् १९६२ को भारत-चीन युद्ध हो।

भारत र चीनबीच युद्ध भएपछि हिमालयको यो क्षेत्रको सामरिक महत्त्व बढ्यो। कालापानी भारत-चीन सीमाको नजिक रहेको संवेदनशील क्षेत्र भएकाले भारतका लागि सुरक्षा दृष्टिले महत्वपूर्ण बन्न पुग्यो। विभिन्न ऐतिहासिक सामग्रीमा कालापानी क्षेत्रमा भारतीय सुरक्षा उपस्थिति १९६२ को आसपास विकसित भएको पाइन्छ। 

तर भारतीय सुरक्षाकर्मी त्यहाँ ठ्याक्कै कहिले पुगे, कुन प्रशासनिक प्रक्रियाबाट पुगे र त्यसअघिको अवस्था के थियो भन्नेबारे भने स्पष्ट अभिलेख भेटिदैँन।

पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको संस्मरणमा आधारित सार्वजनिक विवरणमा तत्कालीन राजा महेन्द्रलाई कालापानी क्षेत्रमा भारतीय सैनिक उपस्थिति रहेको जानकारी भएको थियो। उक्त विवरण अनुसार भारत-चीन युद्धको संवेदनशील अवस्थामा तत्काल प्रश्न उठाउँदा नेपालको पक्षधरता देखिन सक्ने भएकाले यो विषय पछि उठाउने सल्लाह भएको थियो।

तर तत्कालै भने महेन्द्रले कुनै कुटनीतिक पहल कदमी चालेको देखिँदैन। यसलाई उनको रणनीतिक उपेक्षा वा पंचायतमाथिको खतरा तार्न प्रयोग गरिएको उपाय भनेर इतिहासकारहरुले व्याख्या गर्दछन्।  

भारतको दाबी के हो?

भारतले लिपुलेकलाई लामो समयदेखि कैलाश मानसरोवर यात्राको मार्गका रूपमा प्रस्तुत गर्दै आएको छ।  उसले यस क्षेत्रमा आफ्नो प्रशासनिक तथा सुरक्षा उपस्थिति रहेको पनि बताउँदै आएको छ।

सन् २०२५ मा भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेक हुँदै भारत-चीन सीमा व्यापार सन् १९५४ देखि चल्दै आएको र नेपालका पछिल्ला दाबीलाई भारतले ऐतिहासिक तथ्य तथा प्रमाणबाट समर्थित नदेखेको बताएका थिए। साथै, भारत सीमा विवादका बाँकी विषयमा नेपालसँग रचनात्मक संवादका लागि खुला रहेको उनको भनाइ थियो।

‘हामीले लिपुलेक नाका हुँदै भारत र चीनबीच सीमा व्यापार पुनः सुरु भएको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले दिएको टिप्पणीलाई जानकारीमा लिएका छौँ,’ भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले उक्त पत्रकार सम्मेलनमा भनेका थिए,‘यस विषयमा हाम्रो धारणा निरन्तर र स्पष्ट रहँदै आएको छ। लिपुलेक नाका हुँदै भारत र चीनबीचको सीमा व्यापार सन् १९५४ मा सुरु भएको हो र दशकौँदेखि निरन्तर चलिरहेको छ।’

सन् २०२६ मा भारतको धारणा फेरि सार्वजनिक भयो। भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रासम्बन्धी नेपालको आपत्तिको जवाफ दिँदै नेपालको क्षेत्रीय दाबीलाई स्वीकार नगरेको र सीमा विषय संवाद तथा कूटनीतिबाट समाधान गर्न सकिने बताएको थियो।

नेपाल र भारतले गर्ने यही फरक व्याख्या यो विवादको मुख्य गाँठो हो।

कुन प्रधानमन्त्रीले सीमा विवादको प्रश्नमा के गरे?

नेपालमा सरकार फेरिएसँगै सीमा विवादको राजनीतिक भाषाशैलीमा परिवर्तन देखिन्छ।  तर कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो भन्ने औपचारिक दाबीमा भने निरन्तरता देखिन्छ।

७ जेठ २०७७ मा केपी शर्मा ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्‍यो। त्यसपछि नेपालको संविधानको अनुसूचीमा पनि नक्सा समावेश गरियो।

तर भारतले नेपालको उक्त कदमलाई स्वीकार गरेन। तत्कालीन ओली सरकारको यही कदमबाट नेपाल-भारत सीमा विवादको बहसले अर्को मोड लिएको देखिन्छ। 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको समयमा पनि नेपाल-भारतका उच्चस्तरीय संयन्त्रमा सीमा विवादको प्रश्न उठिरह्यो। ती सबै संयन्त्रहरु निष्कर्ष भने उस्तै छ- नेपाल-भारत सीमा विवाद स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने।

२०८० मा भारत भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमा विषय उठाएका थिए। 

तर त्यो भ्रमणका क्रममा यो विषय द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने भन्दै पन्छाइयो। 

अहिले १७ जेठ २०८२ प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादलाई संसद्मै उठाएपछि यो विषयले फेरि नयाँ राजनीतिक आयाम पाएको छ।उनले प्रतिनिधिसभामा नेपाल र भारत दुवै पक्षबाट सीमा अतिक्रमण वा सीमासम्बन्धी समस्या भएको हुन सक्ने भन्दै इतिहासकार, सर्वेक्षक तथा सम्बन्धित विज्ञहरूको सहयोगमा तथ्य परीक्षण गरेर समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए। 

बालेनको यही दाबीले नेपालमा भने ठूलो बहस सिर्जना गरेको छ। उनको यही अभिव्यक्तिले सिङ्गो देश दुई ध्रुवमा विभाजित छ। 

केही पूर्वकूटनीतिज्ञ तथा सीमा विज्ञहरूले नेपालले भारतीय भूभाग अतिक्रमण गरेको दाबी पुष्टि गर्ने आधिकारिक आधारबारे प्रश्न उठाइरहेका छन्। विपक्षी दलहरुले अहिलेसम्म पनि प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको जवाफ माग गरिरहेका छन्। 

पूर्वराजदूत नीलाम्बर आचार्य सीमाका केही क्षेत्रमा स्थानीयस्तरको खेती वा बसोबासलाई राज्यस्तरको अतिक्रमणसँग समान अर्थमा बुझ्न नहुने धारणा राख्छन्। 

त्यस्तै, सीमा विज्ञ बुद्धिनारायण श्रेष्ठ पनि नेपालले भारतीय भूभागमा आफ्नो नियन्त्रण विस्तार गरेको दाबी स्वीकार नगरेको बताउछन्।

परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिमा स्पष्टिकरण दिँदै सीमा व्यवस्थापनका केही क्षेत्रमा ‘क्रस बोर्डर अकुपेसन’ को समस्या रहेको बताएको थियो। सँगै, नदी सीमाको निश्चित सीमारेखा कायम गर्ने सिद्धान्तका कारण स्थानीय बासिन्दाको खेती वा बसोबास सीमाको अर्कोपट्टि परेको अवस्था हुन सक्ने मन्त्रालयको प्रष्टीकरणमा उल्लेख छ।

भारतीय प्रतिक्रिया : तेस्रो पक्ष कि द्विपक्षीय वार्ता?

प्रधानमन्त्री शाहको संसद् सम्बोधनपछि भारतले तेस्रो पक्षको संलग्नतामा प्रश्न उठाएको थियो। प्रधानमन्त्री शाहले त्रिपक्षीय वार्ता गर्नुपर्ने आशयको अभिव्यक्ति दिएका थिए। 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत-नेपाल सीमा समस्यामा दुई देशबीच स्थापित द्विपक्षीय संयन्त्र रहेको र यस्तो द्विपक्षीय विषयमा तेस्रो पक्षको भूमिका नरहेको बताएका थिए। भारतले नेपाल-भारत सीमाको करिब ९८ प्रतिशत भाग सीमांकन भइसकेको र बाँकी केही खण्डमा समस्या रहेको पनि बताएको थियो।

‘सम्बन्धित सबै पक्षले स्पष्ट रूपमा बुझ्नुपर्छ कि भारत र नेपालबीचको द्विपक्षीय विषयमा कुनै तेस्रो पक्षको भूमिका हुँदैन,’ जैसवालले २ जुनमा विदेश मन्त्रालयमा भएको मिडियामा ब्रिफिङमा भनेका थिए,’सीमा सम्बन्धी सबै पक्षहरू समाधान गर्न हामीले द्विपक्षीय संयन्त्रहरू स्थापना गरेका छौ ।’ 

सीमा विज्ञ र कूटनीतिज्ञको दृष्टिकोण

नेपाल-भारत सीमा विवादमा दुवैतिरका सिमा विज्ञहरुको धारणा पनि बेग्लाबेग्लै छन्। 

सीमा विज्ञ बुद्धिनारायण श्रेष्ठको दृष्टिकोण मुख्यतः ऐतिहासिक सन्धि, काली नदीको उद्गम र पुराना नक्सामा केन्द्रित छ।

अर्कोतर्फ, पूर्वभारतीय राजदूत रञ्जित रायले नेपाल-भारत सीमा विवादका बाँकी विषय- विशेषगरी कालापानी र सुस्ता तथ्य, प्रमाण र ऐतिहासिक सामग्रीका आधारमा द्विपक्षीय वार्ताबाट समाधान गर्नुपर्ने धारणा राख्छन्। पूर्वभारतीय राजदूत राकेश सूदले पनि नेपाल-भारत सीमा विवादलाई अलग्गै समाधान गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्।

लिपुलेकमा चीन किन जोडिन्छ?

यो विवादमा अर्को पक्ष चीन पनि जोडिएको देखिन्छ। अझ भनौँ लिपुलेक पास हुँदै भारतसँग गर्न सकिने व्यापारिक क्रियाकलापका दृष्टिकोणले चीन यसमा रणनीतिक पक्षका रुपमा जोडिन सक्छ। 

सन् २०१५ मा भारत र चीनबीच भएको समझदारीमा लिपुलेक हुँदै सीमा व्यापार विस्तार गर्ने विषय उल्लेख गरिएको थियो। कैलाश मानसरोवर यात्रासँग पनि यही मार्ग जोडिन्छ।

नेपालले भने आफ्नो दाबी गरिएको भूभाग हुँदै भारत र चीनले कुनै समझदारी वा गतिविधि अघि बढाउँदा नेपाललाई सहभागी गराउनुपर्ने धारणा राख्दै आएको छ।

२०२६ मा परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा भारतसँग सीमा विषयमा ‘खुला मन’ ले वार्ता गर्नुपर्ने बताउँदै सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने धारणा राखेका थिए। उनले भारतका विदेशमन्त्री एस. जयशंकरसँगको भेटपछि दुई देशका सक्रिय संयन्त्रलाई पुनः प्रभावकारी बनाउन सहमति भएको पनि बताए।

सन् २०२० को सडकदेखि २०२६ को कूटनीतिक नोटसम्म

सन् २०२० मा भारतले लिपुलेक जोड्ने सडक उद्घाटन गरेपछि यो विवाद नयाँ चरणमा प्रवेश गर्‍यो। त्यसमा नेपालले आपत्ति जनायो। त्यसपछि नेपालले नयाँ नक्सा सार्वजनिक गर्यो। त्यसमा भारतले अस्वीकार गर्‍यो।

सन् २०२५ मै भारत र चीनले लिपुलेक हुँदै व्यापार पुनः सञ्चालन गर्ने निर्णय गरे। त्यसमा पनि नेपालले पुनः आपत्ति जनायो। भारतले लिपुलेक हुँदै व्यापार १९५४ देखि चल्दै आएको दाबी गर्‍यो र नेपालको पछिल्लो क्षेत्रीय दाबीलाई ऐतिहासिक प्रमाणमा आधारित नभएको बतायो।

सन् २०२६ मा कैलाश मानसरोवर यात्राको मार्गका विषयमा फेरि विवाद छ। 

नेपालले आफ्नो भूभाग हुँदै यात्रा सञ्चालन गर्न लागेको भन्दै आपत्ति जनायो। भारतले आफ्नो पुरानो धारणा दोहोर्‍यायो। नेपालले भने आफ्नो दाबी परिवर्तन नगरेको स्पष्ट गरिरहेको छ।

सन् २०२० देखि २०२६ सम्म भएका यी गतिविधिले सीमा विवाद तीनवटा तहमा देखिन्छ-नक्सा, पूर्वाधार र कूटनीतिक गतिविधि। सन् २०२६ मा नेपाल सरकारले सीमा विवाद समाधानका लागि द्विपक्षीय कूटनीतिक वार्तालाई नै आधिकारिक माध्यमका रूपमा अघि सारेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार सुस्ता तथा लिम्पियाधुरा-लिपुलेक-कालापानी क्षेत्रमा सीमांकनसम्बन्धी काम अझै बाँकी छ। 

भारतले पनि द्विपक्षीय संयन्त्रलाई सीमा समस्याको समाधानका लागि उपयुक्त माध्यम बताएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार करिब ९८ प्रतिशत सीमा सीमांकन भइसकेको र बाँकी क्षेत्रका केही विषय संयुक्त रूपमा समाधान गर्नुपर्ने अवस्था छ।

तर दुई देशबीच संवादको संस्थागत ढाँचा बहने पूर्ण रूपमा अघि बढ्न सकेको छैन।

समाधानको बाटो के?

करिब २०० वर्ष पुरानो यो विवाद त्यो बेलादेखि नै समाधानको बिन्दुमा पुग्न सकेको छैन। माथि उल्लेख गरिएजस्तै विभिन्न समयमा द्विपक्षीय रुपमा नै विभिन्न संयन्त्रमा यो विवाद उठ्ने गरेको भएपनि समयसँगै अस्ताउने गरेको छ। यो विवाद समाधान बाहिरबाट जति देखिन्छ, त्यति सजिलो भने पक्कै छैन। 

तर यसको मतलब यो होइन कि समाधानको बाटोमा नै प्रवेश गर्न सकिँदैन। कालापानी, लिपुलेक र लिम्पियाधुरा विवाद समाधानको बिन्दु प्रवेशका लागि मुलत: यी पाँचवटा विषयहरुमा बहस थाल्दा उपर्युक्त हुन सक्छ।   

पहिलो, साझा प्रमाणको सूची सङ्कलन। नेपाल र भारतले आ-आफ्ना राजनीतिक, प्रशासनिक विशेषगरी ऐतिहासिक नक्सा, सन्धि, पत्राचार, प्रशासनिक अभिलेख र अन्य प्रमाण एउटै प्राविधिक प्रक्रियामा राख्नुपर्छ।

दोस्रो, काली नदीको उद्गमसम्बन्धी संयुक्त अध्ययन। यो विधिमार्फत ऐतिहासिक नक्सा र आधुनिक भूगोललाई सँगसँगै परीक्षण गर्न सकिन्छ।

तेस्रो, इतिहासकार, सर्वेक्षक, भूगोलविद् र सीमा विशेषज्ञको प्रभावकारी संयुक्त टोली बनाउने। सम्भवत: प्रधानमन्त्री शाहले संसद्मा उठाएको विशेषज्ञ-आधारित अध्ययनको अवधारणा यही मान्यतासँग जोडिन्छ।

चौथो, उच्चस्तरीय राजनीतिक तहको वार्ता र प्राविधिक तहको अध्ययनलाई समानान्तर रूपमा अघि बढाउने।

पाँचौँ, वर्तमान प्रशासनिक नियन्त्रण र ऐतिहासिक कानुनी दाबीलाई छुट्टाछुट्ट मूल्यांकन गर्ने। कुनै भूभागमा लामो समयदेखि प्रशासनिक उपस्थिति हुनु महत्वपूर्ण तथ्य हो, तर त्यसको कानुनी, राजनीतिक र कुटनीतिक अर्थ अलग प्रश्न हो। 

छैटौँ, चीनसँग सम्बन्धित पक्षलाई पनि छुट्टै कूटनीतिक तहमा व्यवस्थापन गर्न सकिन्छ। भारत-चीनबीच लिपुलेक हुँदै व्यापार वा धार्मिक यात्राका विषयमा हुने गतिविधिमा नेपालको सरोकार छ भने नेपालले आफ्नो धारणा भारत र चीन दुवैसँग स्पष्ट रूपमा राख्न सक्छ।

तर नेपाल-भारत सीमा निर्धारणको मूल वार्ता भने नेपाल र भारतबीच नै हुनुपर्ने स्पष्ट छ।

नेपाल-भारत सीमा विवाद एउटा सरकार, एउटा प्रधानमन्त्री वा एउटा पुस्ताले सिर्जना गरेको होइन।

यसको जरा १८१६ को सुगौली सन्धिमा छ। त्यसपछि नक्सा परिवर्तन भए, प्रशासनिक अभ्यास विकसित भए, १९६२ पछि कालापानीको सुरक्षा महत्त्व बढ्यो। भारत-चीन सम्बन्धले लिपुलेकलाई रणनीतिक मार्गका रूपमा थप महत्व दियो। सन् २०१५ को भारत-चीन समझदारीले  यो विवादलाई नयाँ मोडमा पुर्यायो। सन् २०२० मा सुरु भएको सडक निर्माणले यस विवादलाई तीव्र बनायो। र, सन् २०२५-२०२६ का व्यापार तथा कैलाश मानसरोवर यात्रा यो विवादलाई झन् विवादित बनाउने घटना बनेको छ।

तर भारतले यसलाई आफ्नो भूभाग मान्छ र सीमा विवाद स्थापित द्विपक्षीय संयन्त्र तथा संवादबाट समाधान गर्नुपर्ने बताउँछ। यही असहमति नै समाधानको सबैभन्दा ठूलो चुनौती हो।

यदि नेपालले आफ्नो दाबीका सबै प्रमाण प्रस्तुत गर्छ। भारतले आफ्ना प्रमाण प्रस्तुत गर्छ। दुवै पक्षले पुराना नक्सा र अभिलेखको संयुक्त परीक्षण गर्छन्, काली नदीको उद्गमसम्बन्धी तथ्यगत अध्ययन हुन्छ। त्यसपछि राजनीतिक तहमा निष्कर्ष निकाल्ने हो भने यो विवादलाई भावनात्मक बहसबाट प्रमाणको परीक्षणतर्फ लैजान सकिन्छ।

दुई सय वर्ष पुरानो सीमा विवाद एउटा नयाँ राजनीतिक भाषणले समाधान हुने विषय होइन। त्यसको समाधानका लागि चाहिन्छ, इतिहास,नक्सा,भूगोल,अभिलेख,कूटनीति इच्छाशक्ति र सबै पक्षसँगको सहकार्य मार्फत सबैको साथ। जुन शाह सरकारको लागि चुनौतीको विषय बन्न सक्छ। 

लिम्पियाधुरा, लिपुलेक र कालापानीको इतिहास, सार्वभौमिकता, भूगोल, सुरक्षा, भारत-चीन सम्बन्ध र नेपाल-भारत सम्बन्धको संगममा उभिएको नदीको त्रिवेणी जस्तै हो। यो विवाद समाधानका लागि हामीले दाबी मात्रै गरेर पुग्दैन। ती दाबी पछाडिका ऐतिहासिक तथ्यहरु पनि बलिया बनाउनुपर्छ।

 

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा बने उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत देशभर झण्डै ४४ हजार युवा पार्टीको पदाधिकारी तथा कार्यसमितिको जिम्मेवारीमा आएका छन्। कांग्रेसको नयाँ विधानअनुसार ३५ वर्षमुनिका युवालाई विभिन्न तहको संगठनमा प्रतिनिधित्व सुनिश्चित गरिएपछि ठूलो संख्यामा युवा नेतृत्वमा पुगेका हुन्।

कांग्रेसको विधान मस्यौदा समितिका सदस्यसचिव प्रताप पौडेलका अनुसार पार्टीको इतिहासमै एकैपटक यति ठूलो संख्यामा युवाले पदाधिकारी तथा सांगठनिक जिम्मेवारी पाएको यो पहिलो घटना हो। उनका अनुसार नयाँ व्यवस्थाले पार्टीको तल्लो तहदेखि केन्द्रीय संरचनासम्म युवाको सहभागिता बढाएको छ।

नयाँ विधानअनुसार प्रत्येक वडाबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना युवालाई क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित गर्नुपर्ने व्यवस्था गरिएको छ। तीमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने प्रावधान छ। देशभर रहेका ६ हजार ७४३ वडाबाट न्यूनतम तीन जनाका दरले २० हजार २२९ युवा क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने आधार बनेको छ।

यद्यपि, वडामा रहेका क्रियाशील सदस्यको संख्याका आधारमा तीनदेखि सात जनासम्म युवा क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन सक्ने व्यवस्था छ। औसतमा प्रत्येक वडाबाट पाँच जना युवा निर्वाचित भएको हिसाब गर्दा ३३ हजार ७१५ जना ३५ वर्षमुनिका युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्।

त्यसैगरी नयाँ विधानले स्थानीय तहका वडा कार्यसमितिमा पनि युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ। गाउँपालिकाका प्रत्येक वडाबाट एक जना र नगरपालिकाका प्रत्येक वडाबाट दुई जना ३५ वर्षमुनिका युवा कार्यसमिति सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।

नेपालमा गाउँपालिकातर्फ ३ हजार २१५ वडा रहेका छन्। ती वडाबाट एक–एक जनाका दरले ३ हजार २१५ युवा वडा कार्यसमिति सदस्य बनेका छन्। त्यस्तै, नगरपालिकातर्फका ३ हजार ५२८ वडाबाट दुई–दुई जनाका दरले ७ हजार ५६ जना युवा वडा कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।

यसरी कांग्रेसको नयाँ सांगठनिक संरचनामा ३३ हजार ७१५ क्षेत्रीय प्रतिनिधि र १० हजार २७१ वडा कार्यसमिति सदस्य गरी कुल ४३ हजार ९८६ युवाले प्रत्यक्ष रूपमा पदिय जिम्मेवारी पाएका छन्।

यी पदमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा उम्मेदवारबीच प्रतिस्पर्धा भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले बताएका छन्। उनका अनुसार कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहमा झण्डै एक लाख युवाले उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेका छन्।

युवा प्रतिनिधित्व वडा तहमा मात्रै सीमित छैन। निर्वाचित क्षेत्रीय प्रतिनिधिमध्येबाट गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा पनि युवाको सहभागिता सुनिश्चित गरिएको छ। त्यहाँ कम्तीमा तीन जना चयन हुने व्यवस्था छ, जसमा एक जना महिला हुनुपर्ने प्रावधान छ।

त्यसैगरी प्रदेश निर्वाचन क्षेत्रको कार्यसमितिमा एक जना, संघीय निर्वाचन क्षेत्रको कार्यसमितिमा दुई जना तथा जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना निर्वाचित हुने व्यवस्था रहेको कांग्रेसले जनाएको छ।

कांग्रेसले केन्द्रीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छनोटमा समेत युवाका लागि छुट्टै प्रतिनिधित्व सुनिश्चित गरेको छ। प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले देशभरबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। त्यस्तै, प्रत्येक निर्वाचन क्षेत्रबाट एक जनाका दरले १६५ जना महासमिति सदस्य चयन हुनेछन्।

नयाँ विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रदेश प्रतिनिधि रहने व्यवस्था गरिएको छ। त्यस्तै, सातवटै प्रदेशमा दुई महिलासहित कम्तीमा पाँच जना प्रदेश कार्यसमिति सदस्य रहने प्रावधान राखिएको छ।

केन्द्रीय कार्यसमितिमा समेत पहिलोपटक प्रत्येक प्रदेशबाट एक युवा र एक युवतीका दरले कुल १४ जना युवा प्रवेश गर्ने व्यवस्था गरिएको छ। यसले कांग्रेसको सबैभन्दा माथिल्लो सांगठनिक संरचनामा पनि युवा प्रतिनिधित्व सुनिश्चित गर्नेछ।

विधान मस्यौदा समितिका सदस्यसचिव पौडेलले ठूलो संख्यामा युवाले पार्टीका विभिन्न तहमा पदिय जिम्मेवारी पाएको र करिब एक लाख युवाले महाधिवेशनमा उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेको बताएका छन्। यसबाट कांग्रेसको संगठनमा युवाको सहभागिता उल्लेख्य रूपमा बढेको उनको दाबी छ। पौडेलले कांग्रेस अब ‘युवामय पार्टी’ बनेको बताएका छन्।

राप्रपा बागमती अध्यक्षमा जनकराज पाठकको चर्चा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बागमती प्रदेश अध्यक्षमा जनकराज पाठकको चर्चा सुरु भएको छ। आगामी असोज २१ गते हुने प्रदेश अधिवेशन नजिकिँदै जाँदा पाठकको सम्भावित उम्मेदवारीलाई लिएर पार्टीभित्र चासो बढेको हो।

नुवाकोटबाट सक्रिय राजनीति गर्दै आएका पाठकले अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन्। उनी भने सार्वजनिक प्रचारभन्दा आन्तरिक छलफल र गृहकार्यमा केन्द्रित छन्। बागमतीका विभिन्न जिल्लाका अध्यक्ष, क्षेत्रीय तथा प्रदेश तहका नेतृत्वसँग उनले परामर्श गरिरहेको उनीनिकट स्रोतको भनाइ छ।

पार्टीको सिद्धान्त, विचार र राजनीतिक दिशाबारे निरन्तर लेखन तथा सार्वजनिक अभिव्यक्ति दिँदै आएका पाठकलाई राप्रपाभित्र स्पष्ट वक्ताका रूपमा पनि हेरिन्छ। संगठनात्मक प्रतिस्पर्धासँगै पार्टीको वैचारिक पक्षलाई प्राथमिकता दिने नेताका रूपमा उनको परिचय रहेको बताइन्छ।

सम्भावित उम्मेदवारीबारे पाठकले केही दिनभित्र निर्णय गर्ने संकेत गरेका छन्। तत्कालै प्रचारमा लाग्नुभन्दा अधिवेशनको वातावरण र प्रतिनिधिहरूको मनोविज्ञान बुझेर अघि बढ्ने उनको तयारी देखिन्छ।

‘धेरै दिन बाँकी छ, किन चटके जसरी बजारमा कराउँदै हिँड्नु ?’ पाठकले भनेका छन्।

पाठकको प्राथमिकता चुनावी प्रतिस्पर्धाभन्दा सर्वसम्मत नेतृत्व चयनतर्फ रहेको बताइएको छ। पार्टीभित्र मत विभाजन बढाउनुभन्दा सहमतिका आधारमा नेतृत्व चयन गर्न सके संगठन थप बलियो हुने उनको धारणा छ।

बागमती अध्यक्षका लागि वर्तमान अध्यक्ष विक्रम थापा, प्रकाश रिमाल र रवीन्द्र प्रताप शाहको नाम पनि चर्चामा छ। तर, पाठक मैदानमा उत्रिएमा प्रदेशको नेतृत्व प्रतिस्पर्धामा नयाँ समीकरण बन्न सक्ने आकलन गरिएको छ।

राप्रपाले असोज २१ गते सातै प्रदेशमा एकैदिन प्रदेश अधिवेशन गर्दैछ। मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनअघि हुने प्रदेश अधिवेशनलाई पार्टीको आगामी नेतृत्व समीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ। बागमती प्रदेश अधिवेशनको स्थानलाई लिएर भने विवाद कायमै रहेको बताइएको छ।

इन्जिनियर भुवन भट्टले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं । इन्जिनियर भुवन भट्टले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (युवा तर्फ) उम्मेदवारी घोषणा गरेका छन्। उनले सभापतिमा गगन थापालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

भट्टले ‘समुन्नत नेपाल र सबल कांग्रेस’का लागि भन्दै १५ वटा प्रमुख एजेण्डा अघि सारेका छन्। उनले युवालाई केवल भविष्यका कर्णधारका रूपमा नभई वर्तमानका निर्णायक साझेदारका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।

उत्पादनमुखी अर्थतन्त्रको विकाससँगै युवालाई त्यसको प्रमुख आधार बनाउने, रोजगारीका अवसर सिर्जना गर्न राज्यलाई दबाब दिने र पार्टीभित्र आवश्यक नीति निर्माण गर्ने उनको एजेण्डा छ। जेनजी आन्दोलनमा नवयुवा पुस्ताले उठाएका सुशासन, भ्रष्टाचारमुक्त समाज र सहज सेवा प्रवाहका मुद्दालाई पार्टीले संस्थागत रूपमा आफ्नो नीति बनाउनुपर्ने उनले बताएका छन्।

भट्टले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा ४० वर्षमुनिका युवाको कम्तीमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुने गरी पार्टी विधानमै व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। पार्टी र सरकारमा समेत युवाको निर्णायक सहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, शिक्षा र स्वास्थ्यको मौलिक हक कार्यान्वयन, विश्वविद्यालयमा आमूल सुधार, युवाका लागि स्टार्टअप र सहुलियतपूर्ण कर्जा, सूचना प्रविधिको विस्तार तथा नेपाललाई मेडिकल र आईटी शिक्षाको हब बनाउने विषयलाई उनले प्राथमिकतामा राखेका छन्।

कृषि आधुनिकीकरण, धार्मिक पर्यटन, जडीबुटी र जलस्रोतको दिगो उपयोग, जलवायु परिवर्तनसम्बन्धी सचेतना तथा ‘गाउँ फर्क’ अभियानलाई पनि उनले आफ्नो एजेण्डामा समेटेका छन्।

भट्टले आफ्नो उम्मेदवारीलाई नयाँ पुस्ताको अर्थपूर्ण प्रतिनिधित्व र युवाको आवाजलाई नीति तथा निर्णय तहसम्म पुर्‍याउने अभियानका रूपमा प्रस्तुत गरेका छन्।

उनले भनेका छन्, ‘अग्रज पुस्ताको अनुभव र संस्कारलाई सम्मान गर्दै नयाँ पुस्ताको ऊर्जा, दृष्टिकोण र विचारलाई नेतृत्वसँग जोड्ने। युवाको आवाजलाई केवल नारामा सीमित नराखी नीति, निर्णय र नेतृत्वको तहसम्म पुर्‍याउने।’

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका सार्वजनिक गरिएको छ।

चोलेन्द्र पक्राउ पर्नुको रहस्य

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरीले नियन्त्रणमा लिनुको पछाडि गम्भीर कारण रहेको दाबी गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बद्ध एक स्रोतका अनुसार जबरामाथि सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न आर्थिक लेनदेन गरेको, जेनजी समूहका केही व्यक्तिलाई सरकारविरुद्ध गतिविधिका लागि उक्साएको र पछिल्लो समय राजनीतिक चलखेलमा सक्रिय भएको आरोप छ।

‘जबरामाथि विचाराधीन मुद्दामा चलखेल गरेको र त्यसक्रममा आर्थिक लेनदेनसमेत भएको सूचना सरकारसम्म पुगेको थियो,’ स्रोतले नेपाल वान एचडीसँग भन्यो, ‘त्यसपछि उनको गतिविधिमाथि निगरानी बढाइएको हो।’

स्रोतका अनुसार अदालतका नियुक्ति, विचाराधीन मुद्दा तथा न्यायिक प्रक्रियामा आफ्नो प्रभाव प्रयोग गर्न खोजेको सूचना सुरक्षा निकाय र सरकारी तहमा पुगेको थियो।  

जबरामाथिको अर्को आरोप जेनजी समूहसँग जोडिएको छ। सरकारी स्रोतका अनुसार उनले केही जेनजी समूहसँग सम्पर्क बढाउँदै सरकारविरुद्ध गतिविधिका लागि उनीहरूलाई प्रोत्साहित गरेका थिए।

‘जेनजी समूहका केही व्यक्तिसँग उनको सम्पर्क बढेको थियो। सरकारविरुद्ध गतिविधि गर्न प्रोत्साहित गरेको सूचना पनि सुरक्षा निकायसम्म पुगेको थियो,’ स्रोतले दाबी गर्‍यो।

पछिल्लो समय विभिन्न राजनीतिक तथा न्यायिक व्यक्तिसँग जबराको बाक्लिएको भेटघाटलाई पनि सुरक्षा निकायले चासोका रूपमा लिएको स्रोतको भनाइ छ। उनले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै विभिन्न राजनीतिक शक्ति केन्द्रसँग सम्पर्क बढाएको दाबी गरिएको छ।

बालेन नेतृत्वको सरकारविरुद्ध राजनीतिक वातावरण बनाउन खोजेको, सरकार परिवर्तन भए आफू प्रधानमन्त्री बन्ने हिसाबले देशी तथा विदेशी शक्ति केन्द्रसँग उठबस बढाएको र विभिन्न राजनीतिक समूहसँग सम्पर्कमा रहेको आरोप उनीमाथि लगाइएको छ।

त्यस्तै, प्रतिनिधिसभा पुनःस्थापनाको राजनीतिक प्रयासमा संलग्न भएको, विभिन्न नेतासँग राजनीतिक विकल्पबारे छलफल गरेको र सरकार परिवर्तनको सम्भावनासँग जोडिएका गतिविधिमा सक्रिय रहेको आरोपसमेत उनीमाथि लगाइएको छ।

जबरामाथि अदालतमा विचाराधीन मुद्दामा चासो र हस्तक्षेप गर्न खोजेको आरोप पनि छ। विशेषगरी टेरामक्स प्रकरण तथा वीरगन्जका मेयर राजेशमान सिंहसँग सम्बन्धित मुद्दाका सरोकारवालासँग फैसला वा सुनुवाइअघि भेटघाट गरेको दाबी स्रोतले गरेको छ।

बाँसबारीस्थित निवासबाट राजनीतिक तथा न्यायिक भेटघाट चलाउँदै महत्वपूर्ण मुद्दामा जोडिएका व्यक्तिहरूसँग सम्पर्क बढाएको आरोपसमेत लगाइएको छ।

पुराना विवाद पनि

प्रधानन्यायाधीश रहँदा जबरामाथि न्यायालयमा विचौलियाको प्रभाव बढाएको, ‘बेन्च सपिङ’ र न्यायिक सेटिङलाई प्रश्रय दिएको तथा न्यायिक प्रक्रियामा अनधिकृत प्रभाव प्रयोग गरेको आरोप लागेको थियो। कार्यपालिकामा समेत भागबण्डा खोजेको आरोप उनीमाथि लाग्यो।

तत्कालीन देउवा सरकारमा सांसदसमेत नरहेका गजेन्द्र हमाल उद्योग वाणिज्यमन्त्री बनेपछि उनलाई जबराको कोटाबाट मन्त्री बनाइएको आरोप लागेको थियो।

रञ्जन कोइराला प्रकरणमा पनि जबराको भूमिकामाथि प्रश्न उठेको थियो। पत्नी गीता ढकालको हत्या अभियोगमा दोषी ठहर भएका तत्कालीन डीआईजी रञ्जन कोइरालाको २० वर्षको कैद घटाएर ८ वर्ष ६ महिना कायम गर्ने फैसला जबराको इजलासले गरेको थियो। उक्त फैसला पछि सर्वोच्च अदालतको पूर्ण इजलासले उल्टाउँदै २० वर्षकै कैद कायम गरेको थियो।

जबराको न्यायिक आचरणलाई लिएर महाभियोगसमेत दर्ता भएको थियो। २०७८ फागुन १ गते प्रतिनिधिसभामा उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बित भएका थिए।

उनको कार्यकालमा न्यायालयभित्र असन्तुष्टि बढेको, नेपाल बार आन्दोलनमा उत्रिएको र न्यायाधीशहरूले इजलास बहिष्कार गरेको विषय पनि उनीमाथि लागेका आरोप र विवादसँग जोडिँदै आएको छ।

१२ घण्टे घटनाक्रम

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यराति महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएर करिब १२ घण्टासम्म टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राख्यो।

प्रहरीले भने जबरालाई पक्राउ नभई सुरक्षाका लागि सुरक्षित स्थानमा ल्याइएको दाबी गर्यो। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार जबरामाथि आक्रमण हुनसक्ने सूचना आएपछि तत्काल सुरक्षा दिन उनलाई कार्यालय ल्याइएको हो। प्रहरीका अनुसार अदालतको पक्राउ पुर्जीसमेत लिइएको थिएन।

मध्यराति करिब साढे १२ बजे प्रहरी टोली जबराको निवास पुगेको थियो। सुरुमा उनी प्रहरीसँग जान तयार नभएपछि करिब डेढ घण्टा छलफल भएको र त्यसपछि राति करिब २ बजे उनलाई टेकु पुर्‍याइयो।

त्यहाँ उनलाई एसएसपी खड्काको कार्यकक्षमा राखियो र बाहिरी भेटघाटमा रोक लगाइयो। राष्ट्रिय मानव अधिकार आयोगको टोलीसमेत उनलाई भेट्न पुगेको थियो, तर भेट्न नदिइएपछि फर्किनुपरेको रिपोर्ट भयो।

करिब १२ घण्टापछि जबरालाई परिवारको जिम्मा लगाएर छाडियो। 

कहाँ चुक्यो राज्य?

घटनामा प्रहरीले सार्वजनिक गरेको कारण र त्यसपछि उठेका राजनीतिक तथा प्रशासनिक प्रश्न अलग-अलग छन्।

प्रहरीको दाबी जबरामाथि सुरक्षा जोखिम देखिएपछि उनलाई सुरक्षित स्थानमा ल्याइएको भन्ने छ। तर प्रहरीलाई कसले निर्देशन दियो? रातारात पूर्वप्रधानन्यायाधीशलाई प्रहरी कार्यालयसम्म पुर्‍याउनुपर्ने अवस्था किन आयो? सुरक्षा जोखिम थियो भने निवासमै सुरक्षा बढाउन नसकिने अवस्था के थियो? र करिब १२ घण्टासम्म उनलाई प्रहरी कार्यालयमा राख्नुको औचित्य के थियो भन्ने प्रश्न उठेको छ। यद्यपि राज्य संयन्त्रसँग जबरालाई नियन्त्रणमा लिनुको आदेश र औचित्यबारे स्पष्ट जवाफ छैन।

घटनापछि जबराको पछिल्लो राजनीतिक भेटघाट, विभिन्न नेतासँगको सम्पर्क र सरकारविरुद्ध सम्भावित चलखेलबारे विभिन्न दाबी सार्वजनिक भएका छन्। सरकार ढाल्ने योजना, अदालतको फैसला प्रभावित पार्न आर्थिक कारोबार र विभिन्न राजनीतिक शक्तिसँग मिलेर अन्तरिम सरकार बनाउने योजनासम्मका आरोप सार्वजनिक भएका छन्।

गगन र देउवा पक्षले सार्वजनिक गर्यो छुट्टाछुट्टै मनोनयन शुल्क

काठमाडौं। कांग्रेसको १५औँ महाधिवेशनमा गगन थापा पक्ष र शेरबहादुर देउवा समूहले छुट्टाछुट्टै मनोनयन शुल्क निर्धारण गरेका छन्।

गगन नेतृत्वको कांग्रेसले आगामी १६ देखि १९ असोजसम्म पार्टीको १५औँ महाधिवेशन गर्दैछ। अर्कोतिर, देउवा पक्षले २१ देखि २३ मंसिरसम्म समानान्तर महाधिवेशनको तयारी गरिरहेको छ। जसको नेतृत्व बीपीपुत्र शशांक कोइरालाले गरिरहेका छन्।

यी दुवै पक्षका महाधिवेशनमा उम्मेदवारी मनोनयन शुल्क पनि फरक-फरक देखिएको छ।

सार्वजनिक विवरणअनुसार गगन नेतृत्वको कांग्रेसमा सभापतिका लागि उम्मेदवारी दिन ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

त्यस्तै, प्रदेश सभापतिका लागि २० हजार र जिल्ला सभापतिका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ।

उता, समानान्तर महाधिवेशनको तयारी अघि बढाएको देउवा पक्षले पनि मनोनयन शुल्क सार्वजनिक गरिसकेको छ। देउवा पक्षको शुल्क गगन पक्षको तुलनामा केही कम देखिन्छ।

सार्वजनिक मनोनयन शुल्कअनुसार केन्द्रीय सभापतिका लागि ३० हजार रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

देउवा पक्षले प्रदेश सभापतिका लागि १० हजार र जिल्ला सभापतिका लागि ५ हजार रुपैयाँ मनोनयन शुल्क तोकेको विवरण सार्वजनिक भएको छ।

दुवै पक्षको शुल्क तुलना गर्दा गगन पक्षको तुलनामा देउवा पक्षको मनोनयन शुल्क कम छ। सभापतिमा उम्मेदवारी दिन देउवा पक्षमा गगन पक्षभन्दा १० हजार रुपैयाँ कम तिरे पुग्छ।

त्यस्तै, उपसभापति र महामन्त्री पदका लागि देउवा पक्षको महाधिवेशनमा गगन पक्षको तुलनामा ५ हजार रुपैयाँ कम शुल्क लाग्ने देखिन्छ। सहमहामन्त्रीको मनोनयन शुल्क भने दुवै पक्षमा बराबर २० हजार रुपैयाँ छ।

 

स्पेसएक्सको अर्काे छलाङ : अन्तरिक्ष अब नयाँ व्यापारिक मैदान

काठमाडाै‌ं। अन्तरिक्ष प्रविधिको क्षेत्रमा लामो समयदेखि प्रभाव जमाउँदै आएको अमेरिकी कम्पनी स्पेसएक्सले सार्वजनिक सेयर निष्कासनमार्फत इतिहासकै सबैभन्दा ठूलो आईपीओको रेकर्ड बनाएको छ। कम्पनीले करिब ७५ अर्ब अमेरिकी डलर जुटाउँदै सन् २०१९ मा साउदी अराम्कोले बनाएको सार्वजनिक निष्कासनको रेकर्डलाई पछाडि पारेको हो। आईपीओपछि स्पेसएक्सको मूल्यांकन करिब २.१ ट्रिलियन डलर पुगेको छ।

स्पेसएक्सप्रति लगानीकर्ताको आकर्षण कम्पनीको रकेट प्रक्षेपणमा रहेको प्रभुत्व, स्टारलिंकमार्फत विस्तार भइरहेको स्याटेलाइट इन्टरनेट सेवा तथा भविष्यमा विकास हुन सक्ने अन्तरिक्ष पूर्वाधारसँग जोडिएको छ। तर कम्पनीको बढ्दो मूल्यांकनलाई केवल सेयर बजारको घटनाका रूपमा हेर्दा यसको दीर्घकालीन महत्व छुट्न सक्छ। स्पेसएक्सको विस्तारले अन्तरिक्षलाई सरकार र सैन्य शक्तिको प्रतिस्पर्धाको क्षेत्रबाट क्रमशः निजी व्यापार, यातायात, सञ्चार, पूर्वाधार र नाफाको नयाँ बजारमा रूपान्तरण छ।

मानवले अन्तरिक्ष यात्राको सम्भावना पहिचान गरेदेखि नै अन्तरिक्षलाई मुख्यतः सरकारको नियन्त्रणमा रहेको क्षेत्रका रूपमा हेरिँदै आएको थियो। शीतयुद्धका बेला अमेरिका र तत्कालीन सोभियत संघबीचको अन्तरिक्ष प्रतिस्पर्धाले यसलाई अझ रणनीतिक बनाएको थियो। 

तर पछिल्ला वर्षमा निजी कम्पनीहरूको प्रवेशसँगै त्यो अवस्था तीव्र गतिमा परिवर्तन हुँदै गएको छ।

स्पेसएक्स यस परिवर्तनको सबैभन्दा चर्चित उदाहरण हो। कम्पनीले पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिलाई व्यावसायिक रूपमा विस्तार गर्दै प्रक्षेपण लागत घटाउने प्रयास गरेको छ। यससँगै स्टारलिंकले हजारौँ स्याटेलाइटमार्फत विश्वका विभिन्न क्षेत्रमा इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य अघि बढाएको छ। अन्तरिक्षमा पूर्वाधार निर्माण, स्याटेलाइट सञ्चालन र नियमित प्रक्षेपणजस्ता गतिविधि अब सरकारी कार्यक्रम मात्र नभई निजी व्यवसायको हिस्सा बन्न थालेका छन्।

स्पेसएक्ससँगै अन्य कम्पनीहरूले पनि अन्तरिक्ष अर्थतन्त्रलाई विस्तार गरिरहेका छन्। ब्लु ओरिजिनले पुनः प्रयोग गर्न मिल्ने प्रक्षेपण प्रणाली तथा चन्द्रमासँग सम्बन्धित पूर्वाधार विकासमा काम गरिरहेको छ। रकेट ल्याबले स्याटेलाइट प्रक्षेपणमा विशेषज्ञता विकास गरेको छ भने प्लानेट ल्याब्सले पृथ्वीको तस्बिर खिच्ने स्याटेलाइटको ठूलो नेटवर्क सञ्चालन गरिरहेको छ।

अन्तरिक्षबाट प्राप्त प्रविधि र सेवाको प्रयोग भने अन्तरिक्ष उद्योगमै सीमित छैन। कृषि, मौसम पूर्वानुमान, यातायात, नेभिगेसन, दूरसञ्चार र आपूर्ति व्यवस्थापनजस्ता पृथ्वीमै आधारित क्षेत्रमा पनि स्याटेलाइट प्रविधिको प्रयोग बढिरहेको छ। उदाहरणका लागि, कृषि उपकरण निर्माण गर्ने जोन डियरले आफ्ना उपकरणलाई मार्गनिर्देशन गर्न स्याटेलाइट प्रणाली प्रयोग गर्छ। यसले अन्तरिक्ष अर्थतन्त्रको प्रभाव रकेट वा स्याटेलाइटमा मात्र नभई दैनिक आर्थिक गतिविधिसम्म फैलिएको देखाउँछ।

स्याटेलाइट इन्टरनेट, मौसमसम्बन्धी सेवा, नेभिगेसन, कार्गो ढुवानी, दूरसञ्चार र अन्तरिक्ष पर्यटनजस्ता व्यावसायिक गतिविधि विस्तार भइरहेका छन्। एक समय सरकारी कार्यक्रममार्फत वर्षमा सीमित संख्यामा हुने अन्तरिक्ष प्रक्षेपण अहिले सयौँको संख्यामा पुग्न थालेका छन्। हजारौँ स्याटेलाइट अन्तरिक्षमा पठाइँदै छन्। यही सम्भावनाका कारण अन्तरिक्ष क्षेत्रमा लगानी गर्ने छुट्टै लगानी कोष तथा एक्सचेन्ज ट्रेडेड फन्डसमेत विकास भएका छन्।

अन्तरिक्षको यो व्यावसायीकरण शीतयुद्धकालीन अन्तरिक्ष युगको सुरुवाती स्वरूपभन्दा निकै फरक छ। सन् १९५७ मा सोभियत संघले स्पुतनिक-१ प्रक्षेपण गर्दा अमेरिकामा उत्पन्न भएको चिन्ता त्यसको व्यावसायिक सम्भावनाका कारण थिएन। त्यसले सोभियत संघले अत्याधुनिक रकेट प्रविधि विकास गरेको र त्यस प्रविधिको सैन्य प्रयोगसमेत सम्भव रहेको देखाएको थियो। त्यसपछि सुरु भएको चन्द्रमा पुग्ने प्रतिस्पर्धा पनि मूलतः दुई राजनीतिक प्रणालीबीचको शक्ति प्रदर्शन थियो।

शीतयुद्ध समाप्त भएपछि पनि अन्तरिक्षमा सरकारहरूको भूमिका समाप्त भएन। चीन, युरोपेली संघलगायतका शक्ति अन्तरिक्ष अनुसन्धान र प्रविधिमा थप सक्रिय भए। लामो समयसम्म अन्तरिक्ष कार्यक्रमका लागि आवश्यक ठूलो लगानी सरकार र रक्षा निकायबाटै आउने गरेको थियो। अन्तरिक्षमा पुग्ने प्रविधि अत्यन्त महँगो र रणनीतिक रूपमा महत्वपूर्ण भएकाले निजी क्षेत्रलाई त्यसको अग्रभागमा पुग्न कठिन मानिन्थ्यो।

तर अहिले सरकारी अनुसन्धान र सहयोगको भूमिका कायम रहे पनि नयाँ प्रविधिको व्यावसायीकरण र बजार विस्तारमा निजी कम्पनीहरूको भूमिका बढेको छ। सरकारहरूले निजी कम्पनीसँग सम्झौता गरेर प्रक्षेपण, स्याटेलाइट, अन्तरिक्ष यातायात तथा अनुसन्धानका काम गराइरहेका छन्। यसले अन्तरिक्ष क्षेत्रमा सार्वजनिक लगानी र निजी पूँजीबीच नयाँ प्रकारको सम्बन्ध निर्माण गरेको छ।

अन्तरिक्ष अर्थतन्त्रको भविष्यको आकारबारे विभिन्न अनुमान छन्। म्याकिन्से एन्ड कम्पनीको एक अध्ययनले विश्वको अन्तरिक्ष अर्थतन्त्र सन् २०२३ को करिब ६३० अर्ब डलरबाट बढेर सन् २०३५ सम्म १.८ ट्रिलियन डलर पुग्न सक्ने प्रक्षेपण गरेको थियो। यद्यपि स्पेसएक्सको मूल्यांकनमा आएको तीव्र वृद्धिले यस्ता अनुमानलाई समेत नयाँ सन्दर्भमा हेर्नुपर्ने अवस्था सिर्जना गरेको छ। अन्तरिक्ष प्रविधिको वास्तविक प्रभाव अन्तरिक्षमै सीमित नभई पृथ्वीमा सञ्चालित उद्योग र पूर्वाधारमा समेत पर्ने अध्ययनहरूले देखाएका छन्।

अबको अर्को प्रश्न भने मानव स्वयं अन्तरिक्षमा कति टाढासम्म विस्तार हुन सक्छ भन्ने हो। चन्द्रमामा स्थायी मानव बस्ती स्थापना गर्ने योजनामाथि विभिन्न देश र संस्थाले काम गरिरहेका छन्। पृथ्वीमा ठूलो प्राकृतिक वा अन्य कुनै विपत्ति आएमा मानव सभ्यताको निरन्तरताका लागि बहुग्रहमा बसोबास आवश्यक हुन सक्ने तर्क पनि प्रस्तुत हुँदै आएको छ। स्पेसएक्सका संस्थापक एलन मस्कले पनि मानव जातिलाई बहुग्रह प्रजाति बनाउने र मंगल ग्रहमा मानव बस्ती स्थापना गर्ने दीर्घकालीन लक्ष्यबारे पटकपटक बताएका छन्।

तर अन्तरिक्षको व्यावसायीकरणसँगै सबैभन्दा जटिल प्रश्न स्वामित्व र पहुँचको हुनेछ। समुद्र र जमिनको स्वामित्व तथा प्रयोगसम्बन्धी नियम निर्माण हुन शताब्दी लागेझैँ अन्तरिक्षका लागि पनि स्पष्ट कानुनी व्यवस्था आवश्यक पर्ने देखिन्छ।

सन् १९६७ को संयुक्त राष्ट्रसंघीय बाह्य अन्तरिक्ष सन्धि अन्तरिक्षसम्बन्धी प्रमुख अन्तर्राष्ट्रिय कानुनी आधार हो। यसले कुनै पनि राष्ट्रलाई चन्द्रमा, ग्रह वा अन्य खगोलीय पिण्डमाथि सार्वभौम दाबी गर्न रोक्छ। तर निजी कम्पनीले अन्तरिक्षबाट निकाल्ने स्रोत वा त्यसबाट प्राप्त वस्तुमाथि कस्तो अधिकार पाउने भन्ने विषयमा सन्धि स्पष्ट छैन।

यही कारण अमेरिका, लक्जेम्बर्ग र जापानलगायतका देशले अन्तरिक्षबाट निकालिएका स्रोतमा निजी अधिकारलाई मान्यता दिने कानुनी व्यवस्था अघि सारेका छन्। यसको आधार समुद्रबाट माछा समात्ने व्यक्तिले समुद्रमाथि स्वामित्व नपाए पनि आफूले समातेको माछामा अधिकार राख्न सक्ने अवधारणासँग तुलना गरिन्छ।

यसैगरी, अन्तरिक्षमा बढ्दो स्याटेलाइटको भीडले कक्षीय मार्ग, रेडियो फ्रिक्वेन्सी, प्रक्षेपण अनुमति र सम्भावित ठक्कर नियन्त्रणसम्बन्धी नयाँ चुनौती सिर्जना गरेको छ। हजारौँ स्याटेलाइट, अन्तरिक्ष स्टेशन, चन्द्र अभियान र भविष्यमा अन्तरिक्षबाट स्रोत उत्खननको गतिविधि बढ्दै जाँदा अन्तर्राष्ट्रिय नियमलाई थप स्पष्ट र विस्तृत बनाउनुपर्ने दबाब बढ्ने देखिन्छ।

सरकारको भूमिका भने नियम निर्माण, अन्तर्राष्ट्रिय समन्वय र सुरक्षाको आधार तयार पार्न महत्वपूर्ण रहनेछ। तर अन्तरिक्षमा अत्यधिक नियन्त्रणले निजी प्रयोग र नवप्रवर्तनलाई प्रभावित गर्न सक्ने बहस पनि छ। इतिहासमा अमेरिकी पश्चिमी भूभागको विस्तार र इन्टरनेटको सुरुवाती चरणमा देखिएको खुलापनले नयाँ प्रयोग र व्यवसायलाई प्रोत्साहन गरेझैँ अन्तरिक्षको तुलनात्मक खुलापनले पनि निजी क्षेत्रलाई जोखिम लिन प्रेरित गरिरहेको तर्क गरिन्छ।

स्पेसएक्सको रेकर्ड आईपीओ त्यसै परिवर्तनको एउटा ठूलो संकेतका रूपमा देखिएको छ। कुनै समय राष्ट्रहरूको शक्ति प्रदर्शन र सैन्य प्रतिस्पर्धाको प्रतीक रहेको अन्तरिक्ष अहिले निजी कम्पनी, लगानीकर्ता र उद्यमीका लागि नयाँ आर्थिक सीमाना बन्दै गएको छ। आगामी दशकमा यो सीमाना कति विस्तार हुन्छ र त्यसलाई नियमन गर्ने विश्वव्यापी संरचना कस्तो बन्छ भन्ने प्रश्नले अन्तरिक्षको भविष्यसँगै पृथ्वीको अर्थतन्त्रलाई समेत प्रभावित गर्नेछ।

दसैंको पूर्वसन्ध्यामा जडिबुटीमा भ्योमाको लाइभ प्रस्तुति

काठमाडौं । चर्चित र्‍यापर भ्योमाले दसैंको पूर्वसन्ध्यामा काठमाडौंको जडिबुटीस्थित क्लब १८ मा लाइभ प्रस्तुति दिने भएका छन्।

क्लब १८ को आयोजनामा असोज १६ गते (अक्टोबर २) ‘भ्योमा लाइभ’ आयोजना हुन लागेको हो। कार्यक्रम राति ८ बजेदेखि सुरु हुनेछ।

कार्यक्रममा भ्योमाले आफ्ना चर्चित गीतहरू प्रत्यक्ष प्रस्तुत गर्ने आयोजकले जनाएको छ। उनले ‘भयंकर’, ‘मुक्तक’, ‘झुम्का’, ‘गोरी’, ‘मायाले मात्य म’, ‘भाइभ हान्यो’, ‘बाल्दे’ र ‘आक्रमण’ लगायत गीत प्रस्तुत गर्नेछन्। भ्योमाको प्रस्तुतिसँगै डिजेको प्रस्तुति पनि रहनेछ।

दसैंको माहोल सुरु भइसकेको समयमा युवापुस्तालाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागिएको क्लब १८ का सञ्चालक सुजन श्रेष्ठले बताए।

‘दसैं भनेकै भेटघाट, रमाइलो र खुसी साटासाट गर्ने समय हो। यही माहोललाई अझ विशेष बनाउन क्लब १८ मा भ्योमाको लाइभ कार्यक्रम गर्न लागेका हौं,’ श्रेष्ठले भने, ‘भ्योमाका गीत अहिले युवापुस्तामाझ लोकप्रिय छन्। उहाँको प्रत्यक्ष प्रस्तुति र क्लबको वातावरणले दर्शकलाई दसैंको पूर्वसन्ध्यामा छुट्टै रमाइलो अनुभूति दिनेछ भन्ने विश्वास छ।’

साथै, कार्यक्रममा सहभागी हुन चाहने दर्शकका लागि टेबल रिजर्भेसनको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

 

ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रोच जनता पार्टीको ‘जेल भरो’ आन्दोलन घोषणा

काठमाडाैं। भारतको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै नयाँ चरणको आन्दोलन घोषणा गरेको छ। सीजेपीका संस्थापक अभिजीत दीपकेले सोमबार सामाजिक सञ्जाल एक्समार्फत आगामी अक्टोबर २ अर्थात् महात्मा गान्धी जयन्तीका दिन मुम्बईबाट आन्दोलन सुरु गर्ने जानकारी दिएका हुन्।

दीपकेले सार्वजनिक गरेको पोस्टरमा अक्टोबर २ मा मुम्बईको शिवाजी पार्कमा ‘जेल भरो आन्दोलन’ गर्ने उल्लेख गरिएको छ। यसअघि सीजेपीले ज्ञानेश कुमारले तोकिएको समयभित्र पदबाट राजीनामा नदिए देशव्यापी आन्दोलन सुरु गर्ने चेतावनी दिएको थियो। दीपकेले सेप्टेम्बर २५ मा एक्समार्फत ज्ञानेश कुमारले राजीनामा नदिए अक्टोबर २ देखि मुम्बईबाट आन्दोलन सुरु गरी त्यसलाई भारतका विभिन्न सहरसम्म विस्तार गर्ने बताएका थिए। 

तर, आन्दोलन घोषणा गरेलगत्तै सीजेपीलाई मुम्बईको शिवाजी पार्कमा कार्यक्रम गर्न अनुमति नदिइएको छ। मुम्बई प्रहरीले सार्वजनिक जमघटका लागि अनुमति दिन नसकिने भन्दै आयोजकलाई वैकल्पिक स्थान खोज्न र नयाँ आवेदन दिन सुझाव दिएको स्थानीय रिपोर्टमा उल्लेख छ। प्रहरीको निर्णयमा यसअघि अदालतको आदेश तथा महाराष्ट्र सरकारका सम्बन्धित निर्णयलाई आधार बनाइएको जनाइएको छ। 

अनुमति अस्वीकार भएपछि दीपकेले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन्। नागरिकको आवाज दबाउने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ। प्रदर्शन गर्ने अधिकारमा रोक लगाइए मुम्बईमै ‘जेल भरो’ अभियान अघि बढाउने चेतावनीसमेत उनले दिएका छन्।

सीजेपीले पछिल्लो समय भारतको निर्वाचन प्रणाली र मतदाता सूचीसँग सम्बन्धित विषयलाई आफ्नो मुख्य राजनीतिक मुद्दा बनाउँदै आएको छ। विशेषगरी ‘स्पेसल इन्टेन्सिभ रिभिजन’ (एसआईआर) प्रक्रियालाई लिएर सीजेपीले निर्वाचन आयोगमाथि प्रश्न उठाउँदै आएको छ। पार्टीले एसआईआर प्रक्रिया रोक्नुपर्ने, प्रभावित मतदाता सूची पुनःस्थापित गर्नुपर्ने र निर्वाचनसम्बन्धी कानुनी तथा संस्थागत सुधार गर्नुपर्ने माग अघि सारेको छ। 

ज्ञानेश कुमारको राजीनामा माग गर्दै सीजेपीले यसअघि सेप्टेम्बर २४ मा नयाँदिल्लीमा पत्रकार सम्मेलनसमेत गरेको थियो। त्यस क्रममा दीपकेले प्रमुख निर्वाचन आयुक्तमाथि गम्भीर आरोप लगाउँदै ४८ घण्टाभित्र राजीनामा दिनुपर्ने माग गरेका थिए। उनले एसआईआर प्रक्रियामार्फत ठूलो संख्यामा मतदाताको नाम हटाइएको दाबी गर्दै यसले नागरिकको मतदान अधिकारमा असर पारिरहेको आरोप लगाएका थिए। यी आरोपहरू सीजेपी र दीपकेको दाबीका रूपमा सार्वजनिक भएका हुन्। 

सीजेपीको पछिल्लो आन्दोलनको घोषणा भने यही विवादलाई सडक आन्दोलनमा रूपान्तरण गर्ने प्रयासका रूपमा आएको छ। अक्टोबर २ लाई आन्दोलन सुरु गर्ने दिनका रूपमा रोजिएको छ, जुन भारतमा गान्धी जयन्तीका रूपमा मनाइन्छ। दीपकेले यही दिनबाट मुम्बई हुँदै आन्दोलनलाई अन्य भारतीय सहरसम्म विस्तार गर्ने बताएका छन्। 

सीजेपीले यसअघि पनि विभिन्न मुद्दालाई लिएर आन्दोलन गर्दै आएको छ। सामाजिक सञ्जालबाट सुरु भएको यो अभियान पछि सडक प्रदर्शनसम्म पुगेको हो। अभिजीत दीपके यसको संस्थापकका रूपमा सार्वजनिक रूपमा सक्रिय छन्। पार्टीको नाम र यसको राजनीतिक शैली सुरुदेखि नै व्यंग्यात्मक र युवाकेन्द्रित अभियानका रूपमा चर्चामा आएको छ। 

मुम्बईमा अक्टोबर २ का लागि प्रस्तावित कार्यक्रमलाई अनुमति नदिइएपछि सीजेपीले आफ्नो घोषित ‘जेल भरो आन्दोलन’ कसरी अघि बढाउँछ भन्ने विषयमा चासो बढेको छ। वैकल्पिक स्थानमा प्रदर्शन गर्ने वा घोषित कार्यक्रमलाई नै फरक स्वरूपमा अघि बढाउनेबारे आयोजकबाट थप निर्णय आउन बाँकी छ।

बाढीपहिरोको वितण्डा : २१ जनाको मृत्यु, ५ अझै बेपत्ता

काठमाडौं। केही दिनयताको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानले देशभर जनजीवन प्रभावित भएको छ। विभिन्न जिल्लामा बस्ती डुबानमा परेका छन्, पहिरोले घर पुरिएका छन् भने सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।

पछिल्लो सरकारी विवरणअनुसार असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा भएका बाढी, पहिरो, डुबान, हावाहुरी तथा चट्याङका घटनामा २१ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन् भने पाँच जना अझै बेपत्ता छन्।

गण्डकी प्रदेशमा मात्रै बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ। बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। तमानखोला र निसीखोला क्षेत्रमा पहिरोले घर पुरिँदा एकै परिवारका सदस्यसहित ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ।

पाल्पा, डोल्पा र धनुषालगायत जिल्लामा पनि मानवीय क्षति भएको छ। पर्वतको जलजला क्षेत्रमा कालीगण्डकी नदीको बाढीले घर बगाएको छ भने नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा नदीको बहाव बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थल सेतीबेनी क्षेत्रमा कालीगण्डकी नदीको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण बजार क्षेत्रका घरहरू डुबानमा परेका छन्। स्याङ्जाको मिर्मी र गुल्मीको हर्मीचौर जोड्ने मोटरेबल पुलसमेत कालीगण्डकीको बाढीले बगाएको छ। पुल बगेपछि दुई जिल्लाबीचको सडक तथा यातायात सम्पर्क प्रभावित भएको छ।

भारी वर्षाका कारण कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको उत्पादनसमेत बन्द गरिएको थियो। आयोजनास्थित नदीको बहाव बढेपछि सेतीबेनी क्षेत्रमा थप जोखिम सिर्जना भएको थियो।

यस क्षेत्रको क्षति र यातायात समस्यालाई सम्बोधन गर्न स्थानीय तह तथा सम्बन्धित निकायले वैकल्पिक सडक सम्पर्कको खोजी गरिरहेका छन्।

बाढीपहिरोका कारण देशका प्रमुख राजमार्ग तथा सहायक सडकखण्डसमेत प्रभावित भएका छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, नारायणगढ-मुग्लिन सडक, कान्ति लोकपथ, पासाङ ल्हामु राजमार्गलगायत सडकमा पहिरो तथा नदी कटानका कारण आवागमन प्रभावित भएको छ।

पृथ्वी राजमार्गको कृष्णभीरलगायत स्थानमा पहिरो र ढुंगा खस्दा यातायात प्रभावित भएको छ। नागढुंगा-मुग्लिन सडकखण्डमा समेत वर्षा र पहिरोका कारण आवागमन सहज हुन सकेको छैन।

बीपी राजमार्गका विभिन्न स्थानमा सडक तथा डाइभर्सनमा क्षति पुगेको छ। केही स्थानमा वैकल्पिक मार्गबाट यातायात सञ्चालनको प्रयास भइरहे पनि क्षतिग्रस्त खण्ड तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन देखिएको छ।

नारायणगढ-मुग्लिन सडकसहित अन्य राजमार्गमा समेत पहिरो हटाउने तथा सडक खुलाउने काम भइरहेको छ। सडक विभागले सामान्य पहिरो भएका स्थानमा तत्कालै सडक सञ्चालन गर्ने र बढी क्षति भएका खण्डमा मर्मत तथा पुनर्निर्माणको काम अघि बढाउने जनाएको छ।

लमजुङ-मनाङ, पर्वत-बागलुङ र म्याग्दी-मुस्ताङको सडक सम्पर्कसमेत बाढी तथा पहिरोका कारण विच्छेद भएको छ। पुलका पहुँच सडक बग्नुका साथै कतिपय स्थानमा नदी कटानले सडक नै बगाएको छ।

विपद्बाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीय तहको समन्वयमा खोज तथा उद्धार जारी छ। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, राहत वितरण गर्ने र अवरुद्ध सडक खुलाउने काम एकसाथ अघि बढाइएको छ।

विपद् प्रभावित क्षेत्रमा यथार्थ क्षतिको विवरण संकलन, बेपत्ता नागरिकको खोजी तथा घाइतेको उपचारलाई प्राथमिकतामा राखिएको छ। क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा सञ्चार संरचना पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकाय परिचालन भएका छन्।

यसैबीच, बाढीपहिरोको जोखिम अझै कायमै रहेकाले नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा कमजोर भौगोलिक क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

वर्षा र नदीको बहावका कारण सडक तथा बस्तीको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रुले यात्रा गर्नुअघि सम्बन्धित सुरक्षा निकायबाट पछिल्लो अवस्थाबारे जानकारी लिनुपर्ने देखिएको छ।

दशगजामा एसएसबीसँग विवादपछि नेपाली युवक कुटिए

काठमाडाैं । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीसँग विवाद भएपछि मोरङका एक युवक कुटिएका छन्।

मोरङका कामत थरका युवक रानी नाकास्थित दशगजा क्षेत्रमा एसएसबीका सुरक्षाकर्मीसँग विवादमा परेका थिए। विवादका क्रममा उनले एसएसबीका एक जवानमाथि ढुंगा प्रहार गरेको बताइएको छ। ढुंगा लागेपछि एसएसबीका सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका थिए।

नेपालतर्फ भागेका कामतलाई एसएसबीका सुरक्षाकर्मीले दशगजाबाट तानेर भारततर्फ लगेपछि लाठी प्रहार गर्दै कुटपिट गरेको बताइएको छ। घटनाका बेला सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीसमेत घटनास्थलमा रहेको जनाइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाको भिडियोमा नेपाली सुरक्षा टोलीले युवकलाई रोक्न खोजेको र घटनास्थलमा भेला भएका व्यक्तिहरूले उनलाई समातेको देखिन्छ। त्यसपछि एसएसबीको टोलीले उनलाई नियन्त्रणमा लिएर भारततर्फ लगेको देखिन्छ।

केही समय नियन्त्रणमा राखेर कुटपिट गरेपछि एसएसबीले कामतलाई नेपाल प्रहरीको जिम्मा लगाएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय रानीले उनलाई एक दिन नियन्त्रणमा राखेको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कामतलाई आइतबार उनकी श्रीमतीको रोहबरमा आफन्तको जिम्मा लगाएर घर पठाइएको छ।

प्रहरीका अनुसार कामत लागुऔषध प्रयोगकर्ता हुन्। एसएसबीसँग विवाद हुँदा पनि उनी सामान्य अवस्थामा नरहेको प्रहरीको भनाइ छ।

राष्ट्रिय महिला पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं । महिला ई-स्पोर्ट्स खेलाडीको प्रतिभा र क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला पब्जी मोबाइल च्याम्पियनसिप २०२६ को फाइनल आज काठमाडौंमा हुँदै छ।

काठमाडौंको महाराजगन्जस्थित शुभ इन्टरटेनमेन्टमा हुने फाइनलमा उपाधिका लागि १६ महिला टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सुरुमा २४ टोली सहभागी थिए। उत्कृष्ट प्रदर्शन गरेका १६ टोली फाइनल चरणमा पुगेका हुन्।

प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको आयोजकले जनाएको छ। महिला ई-स्पोर्ट्सको विकाससँगै नयाँ प्रतिभाको पहिचान र खेलाडीलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अवसर उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

साथै, फाइनलमा सहभागी खेलाडीलाई म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘पावर प्याक’ ऊर्जाले थप उत्साह प्रदान गर्ने आयोजकको भनाइ छ।

प्रतियोगिताले नेपाली महिला ई-स्पोर्ट्स खेलाडीको क्षमता र सम्भावनालाई राष्ट्रियस्तरमा उजागर गर्न योगदान पुग्ने आयोजकले अपेक्षा गरेको छ।

 

ट्याक्टरको ट्रली पल्टिँदा च्यापिएर महिलाको मृत्यु

काठमाडौं। देवचुली नगरपालिका-१६ टाँगिकोटस्थित नारायणगढ-बुटवल सडकखण्डअन्तर्गत चाइना कम्पनीको परिसरमा ट्याक्टरको ट्रली पल्टिँदा एक महिलाको मृत्यु भएको छ।

लु.२ त ६८११ नम्बरको ट्याक्टरको ट्रलीमा कम्पनीका ब्लक लोड गरिएको थियो। ट्रलीको पछाडिपट्टि बसिरहेकी देवचुली नगरपालिका-४ निवासी करिब ४० वर्षीया मनकुमारी सोती मगर ट्रली पल्टिएपछि च्यापिएकी थिइन्।

ट्रलीको ढालाले टाउकोदेखि कम्मरसम्मको भाग च्यापिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद काफ्लेको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले ट्रली उठाएर उद्धारको प्रयास गरे पनि मगरको मृत्यु भइसकेको पाइएको जनाएको छ।

घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको छ भने शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

जबरा पक्राउ प्रकरणले तातेको संसद्

काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यराति निवासबाट प्रहरी कार्यालय लगिएको घटनालाई लिएर प्रतिनिधिसभामा सरकारसँग जवाफ मागिएको छ। सांसदहरूले जबरालाई नियन्त्रणमा लिनुको कानुनी आधार, सुरक्षा चुनौतीको प्रकृति र अपनाइएको प्रक्रियामाथि प्रश्न उठाएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले गम्भीर विषयमा पक्राउ गर्ने र छोटो समयमै छाड्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै जबरा प्रकरणमा सरकार गम्भीर हुनुपर्ने बताए।

‘विषय कति गम्भीर हो भन्ने कुराको ख्याल गरेर मात्रै पक्राउ गरिनुपर्छ। पक्राउ गर्ने र भोलिपल्टै छोड्ने काम कत्तिको उपयुक्त हो ?’ उनले प्रश्न गरे।

नेकपा एमालेका सांसद ऐन महरले पूर्वप्रधानन्यायाधीश जबरालाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गरे। उनले सरकारमाथि कानुनको शासन उल्लंघन गरेको आरोप लगाउँदै जबरालाई पक्राउ गर्नुको आधार स्पष्ट पार्न माग गरे।

‘सरकारले कानुनको शासनको उल्लंघन गरिरहेको छ। चोलेन्द्रशमशेरलाई गैरकानुनी तरिकाले सरकारले पक्राउ गर्‍यो,’ महरले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले पनि जबरालाई मध्यरातमा निवासबाटै प्रहरी कार्यालय लगिएको घटनामाथि प्रश्न उठाए। पूर्वप्रधानन्यायाधीशजस्तो संवैधानिक पदमा बसेका व्यक्तिमाथि राज्यले शक्ति प्रयोग गर्दा कानुनी प्रक्रिया र पारदर्शिता कायम गर्नुपर्ने उनको भनाइ थियो।

‘हामी कानुन मान्छौँ, तर कानुनको आडमा गरिने प्रतिशोधको राजनीति स्वीकार्य छैन। राज्यले शक्ति प्रयोग गर्दा पारदर्शिता अपनाउनुपर्छ,’ गिरीले भने।

नेकपा प्रमुख सचेतक युवराज दुलालले जबरालाई नियन्त्रणमा लिनुको कारण र कानुनी आधारबारे सरकारले संसद्मा स्पष्ट जवाफ दिनुपर्ने बताए। उनले जबरालाई ‘सुरक्षा थ्रेट’ रहेको भन्दै प्रहरी कार्यालय लगिएको भनिए पनि सुरक्षा खतरा भएको व्यक्तिलाई नियन्त्रणमा लिने कि खतरा उत्पन्न गर्ने व्यक्तिमाथि अनुसन्धान गर्ने भन्ने प्रश्न उठाए।

‘पूर्वप्रधानन्यायाधीशलाई सुरक्षा थ्रेट भनियो। जेनजीबाट सुरक्षा थ्रेट भन्ने समाचारहरू आए। गिरफ्तार सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई ? यसको जवाफ सरकारले दिनुपर्छ,’ दुलालले भने।

दुलालले जबरालाई नियन्त्रणमा लिएर करिब १२ घण्टापछि छाडिएको घटनाको औचित्यमाथि पनि प्रश्न उठाए।

‘अपराध अनुसन्धान कार्यालयमा राखेर अन्त्य हुने सुरक्षा थ्रेट के हो ? को हो त्यो सुरक्षा थ्रेट ?’ उनले प्रश्न गरे।

जबरालाई आइतबार मध्यराति महाराजगञ्जस्थित निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकुस्थित कार्यालयमा लगेको थियो। प्रहरीका अनुसार जबरामाथि सम्भावित आक्रमणको सूचना आएपछि उनलाई सुरक्षाका लागि कार्यालयमा ल्याइएको हो। प्रहरीले यो पक्राउ नभई सुरक्षा व्यवस्थापनका लागि गरिएको कदम भएको दाबी गरेको छ।

प्रहरी टोली राति करिब साढे १२ बजे जबराको निवास पुगेको थियो। करिब डेढ घण्टाको छलफलपछि राति २ बजेतिर उनलाई टेकुस्थित अपराध अनुसन्धान कार्यालय लगिएको थियो।

प्रहरीले अदालतबाट पक्राउ पुर्जी नलिएको र जरुरी पक्राउ पुर्जीसमेत नदिएको बताएको छ। पक्राउ नै नभएकाले पक्राउ पुर्जी आवश्यक नपर्ने प्रहरीको तर्क छ।

करिब १२ घण्टा कार्यालयमा राखिएपछि जबरालाई परिवारको जिम्मा लगाइएको थियो। प्रहरीले सुरक्षा प्रबन्ध मिलाएर उनलाई सुरक्षित स्थानमा पठाइएको जनाएको छ।

तर, मध्यरातमा निवासबाटै प्रहरी कार्यालय लगिएको विषयमा कानुनी प्रक्रिया र सुरक्षा व्यवस्थापनको औचित्यमाथि प्रश्न उठेका छन्। राष्ट्रिय मानव अधिकार आयोगको टोली जबरालाई भेट्न टेकु पुगे पनि प्रहरीले भेट गर्न नदिएको घटनासमेत सार्वजनिक भएको छ। आयोगले आफ्नो संवैधानिक अधिकारको सम्मान गर्न र घटनाबारे आवश्यक छानबिन गर्न माग गरेको छ।

प्रहरी नियन्त्रणबाट छुटेलगत्तै पूर्वप्रधानन्यायाधीश जबराले आफू र आफ्नो परिवारको सुरक्षाका लागि प्रहरीसमक्ष निवेदन दिएका छन्। उनले पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जालमा भइरहेका गतिविधि तथा आफूविरुद्ध भइरहेका अभिव्यक्तिका कारण सुरक्षा चुनौती महसुस भएको उल्लेख गर्दै आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्न माग गरेका हुन्।

जबराले आफूलाई राति निवासबाट प्रहरी कार्यालय लगिएको घटनापछि आफ्नो र परिवारको सुरक्षाबारे थप चिन्ता बढेको निवेदनमा उल्लेख गरेका छन्। उनले आफ्नो निवास तथा परिवारका सदस्यको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइदिन प्रहरीसँग आग्रह गरेका छन्।

यसरी प्रहरीको ‘सुरक्षा जोखिम’को दाबी र सांसदहरूले उठाएको ‘कानुनी आधार तथा प्रक्रिया’को प्रश्नबीच जबरालाई मध्यरातमा प्रहरी कार्यालय लगिएको घटना संसद्मा बहसको विषय बनेको छ।

बालेनको सम्बोधनले नेपालीको शिर उच्च बनायो : सांसद न्यौपाने

काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद श्रीराम न्यौपानेले प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय मञ्चमा भएको सम्बोधनको प्रशंसा गरेका छन्।

 ‘गरिब र सानो भूगोलबाट प्रतिनिधित्व गर्दै विश्व समुदायसमक्ष नेपालले भोगेको क्षतिलाई उजागर गर्नु ऐतिहासिक कदम हो,’ सांसद न्यौपानेले  भनेका छन्।

‘जेन्जी आन्दोलनपछि अत्यधिक जनमत प्राप्त गर्दै विश्वकै कान्छा प्रधानमन्त्रीले जलवायु सङ्कटले निम्त्याएको विनाशबारे विश्व समुदायलाई जिम्मेवारी बोध गराउनुभएको छ’, उनले भने। उनले  प्रधानमन्त्रीले उठाएको विषय विश्वका लागि महत्वपूर्ण सन्देश बनेको बताए।

न्यौपानेले प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको विषय उठाउँदा विश्व मञ्चमा नेपालको पहिचान बढेको र हरेक नेपालीको शिर गर्वले ठाडो बनेको बताए।

उनले बाढी तथा विपद्पछिको पुनःस्थापना र पुनःनिर्माणमा विश्व समुदायको चासो र सहयोगी भूमिका रहने विश्वाससमेत व्यक्त गरे।

बालेन र लुई चौधौँ एउटै हुन् : महरले किन गरे तुलना?

काठमाडाैं। प्रतिनिधिसभाको सोमबारको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र शाहको शासनशैलीमाथि प्रश्न उठाउँदै फ्रान्सका राजा लुई चौधौँको उदाहरण प्रस्तुत गरे। 

महरले चौधौँको ‘म नै राज्य हुँ’ भन्ने कथन प्रस्तुत गर्दै बालेन सरकारले गुण्डागर्दी र राज्यआतंक सिर्जना गरिरहेको आरोप लगाए। 

‘सरकारले फेरी पूर्वप्रधानन्यायधिश चोलेन्द्र शमशेर जङ्ग बहादुर राणालाई यही असोज १० गते राती (मध्यराती) घरबाटै पुरै गुण्डागर्दी शैलीमा अथवा अपहरण शैलीमा पक्राउ गर्यो। र, राज्य आतंकको बर्बर नमुना प्रस्तुत गर्यो,’ उनले भने, ‘लुई चौधौँले भन्ने गरेका थिए- म नै राज्य हुँ भनेजसरी आफूलाई नै सिङ्गो राज्यको रुपमा प्रस्तुत गर्दै राज्य र कानुनी शासनको उल्लङ्घन गरिरहेको छ।’ 

उनले बालेन नेतृत्वको सरकारमा शक्ति केन्द्रीकरण, सरकारको कार्यशैली, पछिल्ला भिआइपी पक्राउ प्रकरणहरु र संसद्लाई पर्याप्त महत्व नदिएको भन्दै उनको शासनशैलीलाई लुई चौधौँसँग तुलना गरेका हुन्। महरको यो अभिव्यक्तिले एउटा ऐतिहासिक पात्रलाई वर्तमान नेपालको राजनीतिक बहससँग जोडेको छ। तर लुई चौधौँ को थिए र उनलाई उदाहरण बनाउनुको अर्थ के हुन सक्छ भन्ने बुझ्न उनको शासनशैलीलाई हेर्नुपर्ने हुन्छ।

को हुन् लुई चौधौँ?

लुई चौधौँ फ्रान्सका राजा थिए। जसले सन् १६४३ देखि १७१५ सम्म करिब ७२ वर्ष शासन गरे। उनी फ्रान्सको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने राजा मात्र होइन, निरंकुश राजतन्त्र र केन्द्रीकृत राज्यसत्ताको प्रतीकका रूपमा पनि चिनिन्छन्। उनी चार वर्षको उमेरमै राजा बनेका थिए। सुरुका वर्षमा उनकी आमा एन् अफ अस्ट्रिया र कार्डिनल मजारिनले शासन सञ्चालनमा भूमिका खेले। 

तर मजारिनको मृत्युपछि लुईले शासनको निर्णायक शक्ति आफ्नै हातमा केन्द्रित गर्दै लगे। भर्साइल दरबारलाई उनले आफ्नो शक्ति र राजकीय वैभवको महत्वपूर्ण प्रतीक बनाए। 

लुई चौधौँको चरित्र बुझ्ने मुख्य आधार उनको निरंकुश र केन्द्रीकृत शासनशैली हो। उनी दैवी अधिकारको सिद्धान्तमा आधारित राजतन्त्रका शासक थिए, जहाँ राजाको अधिकारमाथि आधुनिक लोकतान्त्रिक संस्थाजस्तो संवैधानिक नियन्त्रण थिएन। प्रशासन, सेना, अर्थतन्त्र र दरबारको संरचना राजाको वरिपरि केन्द्रित थियो। उनका आर्थिक तथा प्रशासनिक सुधारमा जाँ-बातिस्त कोलबेयरले महत्वपूर्ण भूमिका खेले भने सेनाको संगठन र विस्तारमा पनि उनको शासनले जोड दिएको थियो। 

उनको शासनको अर्को महत्वपूर्ण पक्ष धार्मिक कठोरता थियो। सन् १६८५ मा उनले नान्तको धार्मिक सहिष्णुतासम्बन्धी आदेश खारेज गरेपछि फ्रान्सका प्रोटेस्टेन्टमाथि दमन बढ्यो र ठूलो संख्यामा मानिस देश छाड्न बाध्य भए। यही कारण लुई चौधौँलाई इतिहासमा शक्तिशाली मात्र होइन, धार्मिक असहिष्णुता र कठोर शासनसँग जोडेर पनि हेर्ने गरिन्छ।

महरले बालेनलाई चौधौँसँग किन तुलना गरे?

यहीँबाट ऐन महरले गरेको बालेनसँगको तुलना बुझ्न सकिन्छ। तुलना गर्दा दुवैलाई एउटै ऐतिहासिक श्रेणीमा राख्न भने मिल्दैन। लुई चौधौँ वंशानुगत राजतन्त्रका राजा थिए र उनको शासन निरंकुश राजतन्त्रमा आधारित थियो। शाह भने नेपालको संवैधानिक लोकतान्त्रिक व्यवस्थामा निर्वाचित प्रतिनिधि र प्रधानमन्त्री हुन्। उनी संविधान, संसद्, न्यायपालिका, निर्वाचन तथा अन्य संवैधानिक संस्थाबाट निर्धारित सीमाभित्र रहेर शासन गर्नुपर्ने अवस्थामा छन्। बालेन प्रधानमन्त्री बन्ने राजनीतिक आधार पनि प्रतिनिधिसभामा प्राप्त बहुमतसँग जोडिएको छ। 

तर महरको तुलना सम्भवतः शासन प्रणाली समान भएको दाबीभन्दा सत्ता सञ्चालनको शैलीबारे राजनीतिक रूपक हो। बालेन सरकारले प्रशासनिक सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कानुनी सुधारलाई आफ्नो प्राथमिकतामा राखेको दाबी गर्दै आएको छ। अर्कोतर्फ, संसद्मा प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थिति र सांसदका प्रश्नको जवाफ दिने विषयमा उनको आलोचना पनि हुने गरेको छ। 

लुई चौधौँ र बालेनलाई तुलना गर्दा मुख्य प्रश्न ‘को कस्तो व्यक्ति हो?’ भन्दा पनि ‘सत्तासँग उनीहरूको सम्बन्ध कस्तो छ?’ भन्ने हुन सक्छ। अझ उनीहरुको कार्यशैली हेर्दा यो पेचिलो प्रश्नको उत्तर पाउन सकिन्छ।  सरकार र राज्य संचालनको विधी, सरकारी निर्णय प्रक्रियामा नागरिक सहभागिता, विधिको शासन, सरकारको कार्यशैली जस्ता विषयले यो तुलनालाई सहज बनाउन मद्दत गर्छन्।  

लुई चौधौँका हकमा सत्ता स्वयं राजाको वरिपरि केन्द्रित थियो। बालेनको हकमा भने त्यस्तो शक्ति केन्द्रीकरणको दाबी प्रमाणित गर्न उनको निर्णय, संसद्सँगको व्यवहार र संवैधानिक संस्थासँगको सम्बन्धलाई छुट्टाछुट्टै हेर्नुपर्ने हुन्छ।

दशैंमा यात्रु ठग्नेलाई नछाड्ने

काठमाडौं । दशैं, तिहार र छठमा घर जाने यात्रुको चाप बढ्ने भएपछि सरकारले सार्वजनिक यातायातमा निगरानी कडा गर्ने भएको छ।

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकले चाडपर्वमा यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन टिकट बिक्रीदेखि सवारीको प्राविधिक अवस्थासम्म कडाइका साथ अनुगमन गर्नुपर्ने निर्णय गरेको हो। समितिको बैठक असोज १२ गते बसेको थियो।

चाडपर्वको मौका छोपेर यात्रुसँग बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र टिकट बिक्रीमा ठगी गर्ने प्रवृत्तिमाथि निगरानी बढाइने भएको छ। सवारीको निर्धारित भाडादर कार्यान्वयन भए नभएको पनि अनुगमन गरिनेछ।

त्यस्तै, लामो दूरीमा चल्ने सार्वजनिक सवारीको प्राविधिक परीक्षण, चालकको विश्राम, सवारीको गति नियन्त्रण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्ने निर्णय भएको छ।

यात्राका क्रममा अस्वस्थकर खाना तथा खाद्य सामग्री बिक्री हुने गुनासोसमेत आउने भएकाले बाटोमा हुने यस्ता गतिविधिमाथि पनि अनुगमन गरिने भएको छ।

चाडपर्वका बेला सडकमा सवारीको चाप बढ्ने र लामो दूरीका यात्रुको संख्या पनि बढ्ने भएकाले दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षाका लागि सम्बन्धित निकायलाई थप सक्रिय बनाउने तयारी छ।

यसैबीच, सार्वजनिक यातायात व्यवस्थापनका लागि गठित उपसमितिमा रामनाथ पाण्डेलाई सदस्य चयन गरिएको छ।

हर्क साम्पाङलाई अदालतको झट्का, जेठी श्रीमतीलाई अंश छुट्याउन आदेश

काठमाडौं। धरानका तत्कालीन मेयर तथा हाल प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’की जेठी पत्नी दिलमाया राईले दायर गरेको अंशचलन मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ।

दिलमायाले आफूलाई कुटपिट गरी घरबाट निकालिएको दाबी गर्दै २०७३ असोज ६ गते अंशचलनको मुद्दा दायर गरेकी थिइन्। अदालतले भने वादी र प्रतिवादीबीच यसअघि कानुनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको भन्दै पाँच अंशियार कायम गरी अंश लाग्ने सम्पत्ति बण्डा गर्नुपर्ने ठहर गरेको छ।

उपलब्ध अदालतको फैसलामा प्रतिवादीको नाम हर्कराज राई उल्लेख छ। जिल्ला अदालतले २०७६ असार १२ गते फैसला गरेको विवरणसमेत सार्वजनिक भएको छ।

दिलमायाले फिरादपत्रमा आफू र हर्कराजबीच २०५४ पुस ८ गते प्रेम विवाह भएको उल्लेख गरेकी छन्। उनीहरूबाट छोरी एलिसा राई जन्मिएको र मुद्दा दायर गर्दा छोरी १७ वर्षकी रहेको उनको फिरादमा उल्लेख थियो।

आफूहरूबीच कानुनबमोजिम अंशबण्डा नभएको तथा अंशबण्डा गर्नुपर्ने सम्पत्ति विपक्षीहरूकै नाममा रहेको भन्दै उनले आफ्नो अंश छुट्याइदिन माग गरेकी थिइन्।

तर मुद्दा सम्पत्तिको बाँडफाँटमा सीमित थिएन। फिरादपत्रमा उनले वैवाहिक जीवन सुरु भएदेखि नै पति हर्कराजसँग झैझगडा र कुटपिट हुने गरेको आरोपसमेत लगाएकी थिइन्।

दिलमायाले हर्कराजले परस्त्रीसँग सम्बन्ध राखेको आरोप लगाएको र त्यसबारे पटकपटक प्रहरीमा उजुरी दिएको दाबी गरेकी छन्। छोरीको अनुहार हेरेर पटकपटक पति–पत्नी मिलेर बसेको पनि उनको फिरादमा उल्लेख छ।

विदेशबाट फर्किएपछि पनि त्यस्तै अवस्था दोहोरिएको र आफूलाई कुटपिट गरी ज्यानै जाने अवस्था सिर्जना गरेको उनको दाबी थियो।

प्रहरीमा पुनः उजुरी गरेपछि हर्कराजले आफूलाई घरमा बस्न र खानलाउन नदिने भन्दै कुटपिट गरी घरबाट निकालिदिएको दाबी पनि उनले अदालतमा गरेकी थिइन्। यी विवरण भने दिलमायाले फिरादपत्रमा लगाएका आरोप हुन्।

दिलमायाले विपक्षीहरूको सम्पूर्ण सम्पत्तिलाई चार भाग लगाउनुपर्ने माग गरेकी थिइन्। त्यसपछि हर्कराजको भागमा पर्ने एक हिस्सालाई हर्कराज, आफू र छोरी एलिसाबीच पुनः तीन भाग लगाएर आफ्नो हिस्सा कायम गर्नुपर्ने उनको माग थियो।

अदालतले भने नाता, पुस्तावली र मुद्दामा पेश भएका प्रमाणको अध्ययनपछि पाँच अंशियार कायम गरेको छ।

फैसलाअनुसार हर्कराज राई, उनका दाजुहरू आशय कुमार राई र एकराज राई, आमा जसामाया राई तथा मूल पुरुषतर्फकी जेठी पत्नी धनकुमारी राई गरी पाँच जना अंशियार कायम भएका छन्।

यी अंशियारबीच यसअघि विधिवत् अंशबण्डा भएको प्रमाण नदेखिएको अदालतको ठहर छ।

अर्थात्, परिवारका सदस्यहरूको नाममा छुट्टाछुट्टै सम्पत्ति देखिए पनि पहिले नै कानुनी रूपमा अंश छुट्याइएको प्रमाण नभएसम्म अंश लाग्ने सम्पत्तिमा सबै अंशियारको हक कायम हुने अदालतको निष्कर्ष देखिन्छ।

मुद्दामा आशय कुमार राईको नाममा रहेका केही जग्गाको विषय पनि उठेको थियो।

कित्ता नम्बर ३९५, ९२५ र ९२९ का सम्पत्ति ब्रिटिस सेनामा काम गरेर कमाएको रकमबाट खरिद गरिएको र ती निजी आर्जनका सम्पत्ति भएकाले अंशबण्डाबाट अलग राख्नुपर्ने दाबी गरिएको थियो।

तर अदालतले उक्त दाबी पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको जनाएको छ।

ब्रिटिस सेनाबाट कमाएको रकम नेपालमा ल्याएर ती जग्गा खरिद गरिएको भन्ने कुरा प्रमाणित हुने कागजात पेश नभएको भन्दै अदालतले ती सम्पत्तिलाई अंशबण्डाबाट बाहिर राख्ने आधार नभएको ठहर गरेको छ।

अदालतले प्रतिवादीहरूले पेश गरेको तायदाती फाँटवारीसमेत अध्ययन गरेको थियो। प्रतिवादीहरूको नाममा सम्पत्ति रहेको देखिए पनि ती सम्पत्तिमा अंशियारहरूको हक लाग्ने निष्कर्ष फैसलामा उल्लेख छ।

दिलमायाले आफूलाई घरबाट निकालिएको र खानलाउनसमेत नदिइएको दाबी गरेकी थिइन्।

अदालतले यस विषयलाई पनि फैसलामा समेटेको छ। हर्कराजले दिलमायालाई खानलाउन दिएको भए उनी पति समेतलाई विपक्षी बनाएर अंश मुद्दा लिएर अदालतसम्म आउनुपर्ने अवस्था किन आयो भन्ने प्रश्नको अन्यथा पुष्टि हुन नसकेको अदालतको फैसलामा उल्लेख छ।

मुद्दाका क्रममा विभिन्न व्यक्तिको बयानसमेत लिइएको थियो। बयान र उपलब्ध प्रमाणका आधारमा हर्कराज, उनका दाजुहरू आशय कुमार राई तथा एकराज राई, आमा जसामाया राई र धनकुमारी राईसमेत पाँच अंशियार रहेको निष्कर्ष अदालतले निकालेको हो।

अब फैसलाको मुख्य हिसाबमा आउँदा दिलमायाले पाउने अंश १/१५ कायम हुन्छ।

अदालतले पहिले अंश लाग्ने सम्पत्तिलाई पाँच अंशियारबीच पाँच भाग लगाउने आधार लिएको छ। त्यसअनुसार हर्कराजको हिस्सा समग्र सम्पत्तिको १/५ हुन्छ।

त्यसपछि हर्कराजको १/५ हिस्सालाई हर्कराज स्वयं, पत्नी दिलमाया र छोरी एलिसाबीच तीन भाग लगाउनुपर्ने हुन्छ।

यसरी १/५ लाई तीन भाग गर्दा दिलमायाको हिस्सा १/१५ हुन आउँछ।

अदालतले दर्ता स्रेस्तामा कायम अंश लाग्ने सम्पत्तिलाई पाँच भाग लगाई हर्कराजको हिस्सा छुट्याउन र हर्कराजको त्यही हिस्साबाट दिलमायाको अंश कायम गर्नुपर्ने ठहर गरेको छ।

यसको अर्थ दिलमायाले समग्र पारिवारिक सम्पत्तिको १/१५ हिस्सा पाउने होइन कि पहिले पाँच अंशियारबीच हर्कराजको १/५ हिस्सा छुट्याइन्छ र त्यस १/५ को एकतिहाइ दिलमायाको भाग हुन्छ। गणितीय रूपमा त्यसको परिणाम १/१५ हुन्छ।

फैसला सार्वजनिक भएपछि हर्क साम्पाङले भने जेठी पत्नी दिलमायासँग आफूहरू पहिल्यै अलग भइसकेको बताएका छन्।

उनले आफूले घरेलु हिंसा नगरेको र अदालतमा लगाइएका आरोप मिथ्या भएको दाबी गरेका छन्। साम्पाङका अनुसार आफूहरूबीचको सम्बन्धको विषय करिब दुई दशकअघिको हो र लामो समयपछि पुनः मिलनको प्रयास गर्दा दिलमायाले अस्वीकार गरेको उनको भनाइ छ। उनले छोरी एलिसाको हेरचाह तथा पढाइको जिम्मेवारी आफूले लिएको दाबीसमेत गरेका छन्।

यसरी हेर्दा अदालतको फैसला सम्बन्धविच्छेदको फैसला नभई अंशचलनसम्बन्धी फैसला हो। अदालतले वैवाहिक सम्बन्धको विवादका सबै आरोप प्रमाणित भएको निष्कर्ष निकालेकोभन्दा पनि उपलब्ध नाता, पुस्तावली, तायदाती र अन्य प्रमाणका आधारमा अंशियार कायम गरी सम्पत्ति बाँडफाँट गर्नुपर्ने ठहर गरेको हो।

 

श्रीलंकासँग नेपाल भिड्दै, इतिहास बदल्ने मौका

काठमाडौं । नेपाली क्रिकेट टोली एसियन गेम्समा पहिलोपटक सेमिफाइनल पुग्ने लक्ष्यसहित मंगलबार श्रीलंकाविरुद्ध मैदान उत्रिँदैछ।

२०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। श्रीलंकालाई हराए नेपाल एसियन गेम्स क्रिकेटको इतिहासमा पहिलोपटक अन्तिम चारमा पुग्नेछ।

नेपाल र श्रीलंका एसियन गेम्सको क्रिकेटमा १६ वर्षपछि आमनेसामने हुन लागेका हुन्। सन् २०१० को ग्वाङ्झाउ एसियन गेम्सको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग २ विकेटले पराजित भएको थियो। उक्त खेलले टी-२० अन्तर्राष्ट्रियको मान्यता पाएको थिएन।

दुवै टोलीबीच अहिलेसम्म आधिकारिक टी-२० अन्तर्राष्ट्रिय खेलसमेत भएको छैन। सन् २०२४ को टी-२० विश्वकपमा पहिलोपटक भिड्ने तय भए पनि वर्षाका कारण टससमेत नभई खेल रद्द भएको थियो। त्यसैले मंगलबारको खेल पूरा भएमा यो दुई टोलीबीचको पहिलो आधिकारिक टी-२० अन्तर्राष्ट्रिय हुनेछ।

सन् २०१० को क्वाटरफाइनलमा नेपाल ७२ रनमा अलआउट भएको थियो। जवाफमा श्रीलंकाले ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

यसपटक नेपाल समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनल पुगेको छ। समूह चरणमा अफगानिस्तानलाई ५ विकेटले हराएको नेपालले जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन भएपछि शीर्ष स्थानमा रहेर अन्तिम आठमा स्थान बनाएको हो।

जापानविरुद्ध वर्षाले खेल रोकिँदा नेपालले १५ ओभरमा १४९ रन बनाएको थियो। सन्दीप जोराले ५७ र लोकेश बमले ५२ रनको अविजित पारी खेलेका थिए।

श्रीलंकाविरुद्धको खेल जिते नेपाल पहिलोपटक एसियन गेम्स क्रिकेटको सेमिफाइनल पुग्नेछ। अन्तिम चारमा नेपालको सम्भावित प्रतिद्वन्द्वी भारत हुनेछ। भारत अफगानिस्तानविरुद्धको क्वाटरफाइनल वर्षाका कारण हुन नसकेपछि उच्च वरीयताका आधारमा सेमिफाइनल पुगेको हो।

नेपाल–श्रीलंका खेलअघि मौसम अर्को चिन्ताको विषय बनेको छ। सोमबारका दुवै क्वाटरफाइनल वर्षाका कारण रद्द भएका थिए। पाकिस्तान-हङकङ र भारत-अफगानिस्तानबीचको खेल हुन नसकेपछि उच्च वरीयताका आधारमा पाकिस्तान र भारत सेमिफाइनल पुगे।

नेपाल–श्रीलंका खेल पनि वर्षाका कारण रद्द भएमा उच्च वरीयताका आधारमा श्रीलंका सेमिफाइनल पुग्नेछ। यस्तो अवस्थामा नेपालले मैदानमा उत्रिएर खेल जित्ने अवसरसमेत पाउने छैन।

दुई वर्षअघि टी-२० विश्वकपमा श्रीलंकासँगको निर्धारित खेल पनि वर्षाकै कारण रद्द भएको थियो। यसपटकको भेटमा पनि मौसम निर्णायक बन्न सक्नेछ।

एसियन गेम्स क्रिकेटमा नेपाल अहिलेसम्म क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन। सन् २०१० मा श्रीलंका, २०१४ मा अफगानिस्तान र पछिल्लो संस्करणमा भारतसँग पराजित हुँदै नेपालको यात्रा अन्तिम आठमै रोकिएको थियो।

यसपटक समूह विजेता बनेर क्वाटरफाइनल पुगेको नेपालसँग त्यो इतिहास बदल्ने अवसर छ। 

 

मर्स्याङ्दी थुनिएपछि ब्लास्ट गरेर खोल्ने तयारी

काठमाडौं । मनाङको चामेमा पहिरो र लेदोसहितको बाढीका कारण थुनिएको मर्स्याङ्दी नदीलाई विस्फोट गराएर खोल्ने तयारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार जिल्ला दैवी प्रकोप उद्धार समितिले नदीको अवरोध हटाउन विस्फोट गर्ने निर्णय गरेको हो।

त्त्यस्तै,  विस्फोट लागि नेपाली सेनासँग प्राविधिक टोली पठाइदिन अनुरोध गरिएको छ। काठमाडौं‌बाट सेनाको विस्फोटक पदार्थसम्बन्धी प्राविधिक टोली आएर थुनिएको नदी आजै खोल्ने तयारी रहेको पौडेलले बताए।

विस्फोटका लागि आवश्यक सामग्री भने मनाङकै स्थानीय तहसँग रहेको प्रशासनले जनाएको छ।

आइतबार ठाडो खोला र घट्टे खोलामा आएको बाढीले चामे क्षेत्रमा कटान गर्नुका साथै घर, पुल र सडकमा क्षति पुर्‍याएको थियो। साँझ घट्टे खोलातर्फबाट आएको पहिरोको लेदो र हिलो मर्स्याङ्दी नदीमा थुप्रिएपछि नदीको बहाव अवरुद्ध भएको थियो।

नदी थुनिएपछि चामेका स्थानीय त्रसित बनेका थिए। सम्भावित जोखिमबाट बच्न उनीहरू जंगल, सामुदायिक भवन र ब्यारेकमा गएर रात बिताएका थिए।

साथै, मौसम खुलेपछि भने स्थानीयहरू सोमबार बिहानै घर फर्किएका छन्। स्थानीय खोलामा बाढी रोकिए पनि मर्स्याङ्दीको अवरोध अझै हटेको छैन। नदीको सतह तत्काल बढिरहेको नदेखिए पनि जोखिम दोहोरिन सक्ने भएकाले अवरोध हटाउन लागिएको प्रशासनले जनाएको छ।

 

बागलुङमा पहिरोको वितण्डा : १० जनाको मृत्यु, एक बेपत्ता

बागलुङ। अविरल वर्षासँगै आएको पहिरोले बागलुङका विभिन्न स्थानमा घर पुरिँदा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। असोज १० र ११ गते परेको लगातारको वर्षापछि तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा पहिरो गएको हो।

तमानखोला गाउँपालिका-४, सन्तरमा पहिरोले घर पुरिँदा ६५ वर्षीया उदिसरा विक र ५० वर्षीय हस्तवीर विकको मृत्यु भएको छ। सोही घटनामा ५२ वर्षीया पुनसरा विक बेपत्ता रहेकी छन्।

त्यस्तै, तमानखोला गाउँपालिका-३, धनारकुकमा पहिरोमा परी ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ।

निसीखोला गाउँपालिका-६, सेलवाङका ५० वर्षीय सूर्यबहादुर घर्ती पनि पहिरोमा परी मृत्यु भएको छ।

यसैगरी, निसीखोला गाउँपालिका-३, कन्केखरियामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, १३ वर्षीय मनोज विक, ८ वर्षीय मुकेश विक र ३ वर्षीय निशान विक रहेका छन्।

ताराखोला गाउँपालिका-५, धरर्मरका ५९ वर्षीय मनबहादुर रोक्काको पनि पहिरोमा परी मृत्यु भएको छ।

अविरल वर्षासँगै आएको पहिरोका कारण जिल्लाका विभिन्न स्थानमा घर तथा भौतिक संरचनामा समेत क्षति पुगेको छ। प्रभावित क्षेत्रमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायको समन्वयमा उद्धार तथा खोजी कार्य जारी रहेको छ।

घटनाबारे थप विवरण संकलन गर्ने तथा क्षतिको यकिन विवरण निकाल्ने काम भइरहेको सम्बन्धित निकायले जनाएको छ।

पूर्वप्रधानन्यायाधीश जबराले मागे सरकारसँग सुरक्षा

काठमाडौं। पुर्वप्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले सरकारसँग सुरक्षा माग गरेका छन्। उनले आफू र आफ्नो परिवार खतरामा परेको भन्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा निवेदन दिएका हुन्।  गुण्डागर्दी शैलीमा सरकारले बिना पक्राउ पुर्जी पक्राउ गरेपछि जबराले सुरक्षा खतरा बढेको निवेदनमा उल्लेख गरेका छन्। 

जबराले ‘आवश्यक शान्ति सुरक्षाको व्यवस्था गरी पाउँ’ भन्ने विषय उल्लेख गर्दै दिएको निवेदनमा पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाल तथा विभिन्न गतिविधिका कारण आफूलाई सुरक्षा चुनौती महसुस भएको बताएका छन्। उनले आफूलाई राति निवासबाट प्रहरी कार्यालय लगिएको घटनापछि परिवारको सुरक्षाप्रति समेत चिन्ता बढेको उल्लेख गरेका छन्।

जबराको निवेदनअनुसार पछिल्लो समय आफूविरुद्ध विभिन्न अभिव्यक्ति तथा गतिविधि भइरहेको र त्यसका कारण आफ्नो तथा परिवारको सुरक्षामा थप जोखिम उत्पन्न हुनसक्ने अवस्था रहेको छ। उनले आफ्नो निवास तथा परिवारका सदस्यको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइदिन प्रहरीसँग आग्रह गरेका छन्।

यसअघि आइतबार राति जबरालाई महाराजगञ्जस्थित निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकु लगेको थियो। प्रहरीले भने उनलाई पक्राउ गर्न नभई सुरक्षा चुनौतीका कारण सुरक्षाका लागि कार्यालयमा ल्याइएको दाबी गरेको छ। प्रहरीका अनुसार जबरामाथि सम्भावित आक्रमणको सूचना आएपछि सुरक्षाका लागि उनलाई कार्यालयमा राखिएको थियो। 

जबरालाई प्रहरी कार्यालय लैजाँदा अदालतबाट पक्राउ पुर्जी नलिइएको सम्बन्धमा पनि सार्वजनिक रूपमा प्रश्न उठेको छ। प्रहरी पक्षले भने यो पक्राउ नभएकाले पक्राउ पुर्जी आवश्यक नभएको दाबी गरेको छ। 

करिब १२ घण्टा प्रहरी कार्यालयमा राखिएपछि जबरालाई परिवारको जिम्मा लगाइएको र त्यसपछि उनले आफू तथा परिवारको सुरक्षाका लागि औपचारिक रूपमा प्रहरीसमक्ष निवेदन दिएका हुन्।

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटियाे

काठमाडौं । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले थप दुई शव फेला पारेको हो ।

एनएनएमजीएका अनुसार आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो । यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।

यससँगै हिमलुङ हिमपहिराेमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

एसोसिएसनले खोज तथा उद्धारको काम निरन्तर जारी राख्ने समेत बताएको छ ।

 

पछिल्लाे २४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १३४ जना घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १३४ जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी ३३ जना घाइते भएका छन् भने १ जनाको मृत्यु भएको छ। त्यस्तै काठमाडौं उपत्यकामा २७ जना घाइते भएका छन्।

मधेश प्रदेशमा २० जना, लुम्बिनीमा १५ जना, कर्णालीमा ११ जना, गण्डकीमा ८ जना, बागमतीमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ६ जना घाइते भएका छन्।

मृत्यु हुनेमध्ये लुम्बिनी प्रदेशमा ३ जना, बागमती प्रदेशमा २ जना र कोशी प्रदेशमा १ जना रहेको विवरणमा उल्लेख छ।

यो विवरण २०८३ असोज ११ गतेको पछिल्लो २४ घण्टाको सवारी दुर्घटना सम्बन्धी हो।

जबरा पक्राउप्रति राप्रपाको आपत्ति

काठमाडौं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनालाई राज्य संयन्त्रको दुरुपयोग भएको बताएको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपा सांसद भरत गिरीले पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित पदमा बसेका व्यक्तिलाई कानुनी प्रक्रिया मिचेर पक्राउ गरिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। उनले यस्तो घटनाले मुलुकमा विधिको शासन र लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रश्न खडा गरेको बताए।

‘सरकारले पूर्वप्रधानन्यायाधीश जबरालाई जसरी मध्यरातमा घरबाटै पक्राउ गर्‍यो, यो राज्य संयन्त्रको दुरुपयोगको उदाहरण हो। यस्तो शैलीले लोकतन्त्र र मानव अधिकारको मर्ममाथि प्रहार गरेको छ,’ गिरीले भने।

गिरीले आफूहरू कानुन र विधिको शासनको पक्षमा रहेको उल्लेख गर्दै कानुनको आडमा राजनीतिक प्रतिशोध साँध्ने कार्य स्वीकार्य नहुने बताए। राज्यले शक्ति प्रयोग गर्दा पारदर्शिता र कानुनी प्रक्रिया पालना गर्नुपर्ने उनको भनाइ थियो।

‘हामी कानुन मान्छौँ, तर कानुनको आडमा गरिने प्रतिशोधको राजनीति स्वीकार्य छैन। राज्यले शक्ति प्रयोग गर्दा पारदर्शिता अपनाउनुपर्छ,’ उनले भने।

गिरीले वर्तमान सरकार गठन भएयता संवैधानिक अंगका प्रमुख, पूर्वप्रधानमन्त्री तथा पूर्वपदाधिकारीलाई लक्षित गरी पक्राउका घटना दोहोरिरहेको दाबी गरे। उनले रातिको समयमा पूर्वप्रधानमन्त्री, पूर्वपदाधिकारी र पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने शैलीप्रति समेत प्रश्न उठाए।

‘कहिले पूर्वप्रधानमन्त्री, कहिले पूर्वपदाधिकारी त कहिले पूर्वप्रधानन्यायाधीश राति सुतिरहेको बेला उठाउने र हतकडी लगाउने काम सरकारको नियमित कार्यतालिका जस्तै भएको छ। के यो लोकतान्त्रिक सरकारको काम हो ?’ गिरीले प्रश्न गरे।

दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।

साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

‘पक्राउपछि प्रसाईंलाई साइबर ब्युरोको कार्यालय भोटाहिटी लगिएको छ’ स्रोतले भन्यो।

 

‘के खाएपछि मध्यरातमा जोश आउँछ र मध्यान्ह होस आउँछ?’

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरी नियन्त्रणमा राखिएको विषयमा विपक्षी नेकपाले संसदमा प्रश्न उठाएको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा नेकपा प्रमुख सचेतक युवराज दुलालले जबरा पक्राउ पर्नुको कारण र त्यसको कानुनी आधारबारे सरकारले संसदमा जवाफ दिनुपर्ने बताएका हुन्।

दुलालले वर्तमान सरकार गठन भएयता पूर्वप्रधानमन्त्रीदेखि विशिष्ट व्यक्तिसम्मलाई पक्राउ गर्ने र अदालतबाट छुट्ने क्रम देखिएको भन्दै यसको कारण स्पष्ट गर्न सरकारसँग माग गरे।

उनले पूर्वप्रधानन्यायाधीशलाई ‘सुरक्षा थ्रेट’ का कारण नियन्त्रणमा लिइएको भनिए पनि सुरक्षा थ्रेट हुने व्यक्तिलाई पक्राउ गर्ने कि सुरक्षा थ्रेट दिने व्यक्तिलाई भन्ने प्रश्न उठाए।

‘पूर्वप्रधानन्यायाधीशलाई सुरक्षा थ्रेट भनियो, जेन-जीबाट सुरक्षा थ्रेट भन्ने समाचारहरू आए । गिरफ्तार सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई ? यसको जवाफ सरकारले दिनुपर्छ,’ दुलालले भने।

उनले सरकार गठन भएकै दिन पूर्वप्रधानमन्त्रीलाई रातभर घर घेरा हालेर पक्राउ गरिएको र अहिले पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरी १२ घण्टापछि छाडिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न गरे। जबरालाई अपराध अनुसन्धान कार्यालयमा राखेर अन्त्य हुने सुरक्षा थ्रेट के हो र त्यो सुरक्षा थ्रेट कोबाट थियो भन्ने पनि उनले प्रश्न गरे।

‘सरकार गठन भएकै दिन पूर्वप्रधानमन्त्रीलाई रातभर घर घेरा हालेर पक्राउ गरियो । आज पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरियो र बिना कारण १२ घण्टापछि छोडियो,’ उनले भने, ‘अपराध अनुसन्धान कार्यालयमा राखेर अन्त्य हुने सुरक्षा थ्रेट के हो ? को हो त्यो सुरक्षा थ्रेट ?’

प्राकृतिक विपत्तिको समयमा सरकारको ध्यान अन्यत्र मोड्नका लागि जबरालाई पक्राउ गरिएको त होइन भन्ने प्रश्नसमेत दुलालले उठाए। विपत्तिबाट प्रभावित नागरिकलाई राहत र उद्धार दिनुपर्ने समयमा सरकारको ध्यान अन्य विषयमा केन्द्रित भएको उनको भनाइ थियो।

‘यो विपत्तीको समयमा जनतालाई राहत दिनुपर्ने काम गर्नुपर्नेमा सरकारको ध्यान अन्तै मोडिएकोप्रति म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

दुलालले जबरा पक्राउ प्रकरणले कानुनी शासनमाथि समेत प्रश्न उठाएको दाबी गरे। पक्राउ पुर्जी र स्पष्ट कारणबिनै व्यक्तिलाई नियन्त्रणमा लिने कार्यले देश कानुनी राज्यको बाटोमा अघि बढिरहेको छ कि अराजकतातर्फ जाँदैछ भन्ने प्रश्न खडा गरेको उनको भनाइ थियो।

उनले सरकारलाई पूर्वप्रधानन्यायाधीश तथा विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने र पछि छाड्ने कार्यको कारण जनतासामु स्पष्ट पार्न माग गरे। ‘के खाएपछि मध्यरातमा जोश आउँछ र मध्यान्ह होस आउँछ ? सरकारले जवाफ नेपाली जनतालाई दिनुपर्छ,’ उनले भने।

दुलालले देशलाई संवैधानिक र कानुनी बाटोबाट सञ्चालन गर्नुपर्नेमा जोड दिँदै सरकारको कार्यशैलीमा सुधार आवश्यक रहेको बताए।

भ्युजका लागि हलमै फिल्म रेकर्ड, निर्माताको लगानी जोखिममा

काठमाडौं । प्रदर्शनरत नेपाली चलचित्रका १५-२० मिनेटसम्मका दृश्य टिकटक र फेसबुकमा सार्वजनिक हुन थालेपछि चलचित्र क्षेत्रको लगानी र प्रतिलिपि अधिकारमा चुनौती थपिएको छ। यसप्रति अभिनेता तथा निर्देशक निखिल उप्रेतीले आपत्ति जनाउँदै फिल्मका दृश्य अपलोड नगर्न दर्शकलाई आग्रह गरेका छन्।

निखिलको फिल्म ‘आचार्य’का लामा दृश्य सामाजिक सञ्जालमा फैलिन थालेपछि उनले भिडियोमार्फत निर्माताको लगानी र मेहनतको सम्मान गर्न अपिल गरेका हुन्।

नेपाली चलचित्र निर्माणमा ठूलो आर्थिक लगानी, कलाकार तथा प्राविधिकको श्रम र वर्षौँको मेहनत जोडिने भन्दै उनले केही भ्युज र लाइकका लागि फिल्मका महत्त्वपूर्ण दृश्य सार्वजनिक नगर्न आग्रह गरेका छन्।

त्यस्तै, चलचित्र विकास बोर्डले पनि प्रदर्शनरत नेपाली फिल्मका मुख्य अंश अनधिकृत रूपमा अपलोड नगर्न सचेत गराउँदै आएको छ। हलभित्र मोबाइल वा क्यामेराबाट फिल्म रेकर्ड गरी सामाजिक सञ्जालमा अपलोड गर्नु प्रतिलिपि अधिकारसँग जोडिएको विषय हो।

प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार अनुमति नलिई चलचित्रको अंश प्रतिलिपि बनाउने, वितरण गर्ने वा सार्वजनिक गर्ने कार्यमा कसुरको प्रकृतिअनुसार जरिवाना, क्षतिपूर्ति तथा उपकरण जफत हुन सक्ने व्यवस्था छ।

साथै, टिकट काटेर हेर्नुपर्ने फिल्मका लामा दृश्य निःशुल्क सार्वजनिक हुँदा निर्माताको लगानी र सिर्जनामाथि असर पर्न सक्ने भएकाले निखिलले दर्शकलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

भोटेकोशी बाढीपछि बनेको संसदीय समिति : कामकाज ठप्प

काठमाडौं। भोटेकोशीमा बाढी आएको पनि झन्डै एक महिना भयो। बाढीले ठूलो जनधनको क्षति गर्‍यो। खोजी भयो, उद्धार भयो, राहत बाँडियो। अब प्रभावितलाई कसरी पुनर्स्थापित गर्ने र भत्किएका संरचना कसरी बनाउने भन्ने चरण सुरु भएको छ।

यही बेला संसद्ले पनि आफ्नोतर्फबाट काम गर्ने भन्दै विशेष समिति बनाएको छ। तर, समिति बनेको पाँच दिन बितिसक्दा पनि पहिलो बैठक बस्न सकेको छैन।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्मका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीपछि खोजी, उद्धार, राहत र पुनर्स्थापनाको कामसँगै घटनाको कारण र भविष्यमा यस्ता विपद् दोहोरिन नदिन राज्यले के गर्नुपर्छ भन्ने प्रश्न पनि उठेको थियो।

संसद्भित्रै विशेष समिति बनाउनुपर्ने आवाज त्यसैबेला उठेको हो। भदौ ११ गते बसेको सर्वदलीय बैठकले समेत विपद्पछि खोज, उद्धार, राहत र पुनर्स्थापनामा सरकारलाई सहयोग तथा अनुगमन गर्न संसदीय संयन्त्र बनाउने विषय अघि सारेको थियो।

तर समिति बन्न असोज ५ गतेसम्म कुर्नुपर्‍यो।

प्रतिनिधिसभाले असोज ५ गते हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गर्‍यो। सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव राखेपछि सदनले सर्वसम्मत रूपमा पारित गरेको थियो।

समिति गठन भएको छ। सदस्य पनि तोकिएका छन्। कामको सूची पनि तयार छ। तर, बैठकचाहिँ बसेको छैन।

समितिका सदस्यहरूका अनुसार पहिलो बैठक बसेपछि संयोजक चयन हुनेछ। त्यसपछि कार्यविधि बनाएर अध्ययन र अनुगमनको काम अघि बढाउने तयारी छ। पहिलो बैठकबाटै समितिको तीनमहिने कार्यावधि सुरु हुनेछ।

तर बैठक कहिले बस्ने भन्ने टुंगो लागिसकेको छैन।

यो ढिलाइ त्यतिबेला भइरहेको छ, जतिबेला समितिले काम गर्नुपर्ने विषयको सूची भने निकै लामो छ।

भोटेकोशी–त्रिशूली विपद् कसरी भयो? यसको तत्कालीन कारण के थियो? जोखिम बढाउने अरू कारण के थिए? हिमाली क्षेत्रमा भइरहेको जलवायु परिवर्तनसँग यसको सम्बन्ध कति छ?

यी सबै विषय समितिले हेर्नुपर्नेछ।

हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल र जलाधारमा भइरहेको परिवर्तन तथा त्यसबाट सिर्जित जोखिमबारे उपलब्ध तथ्यांक र अध्ययनसमेत समितिले केलाउनेछ।

समितिको काम बाढीको कारण पत्ता लगाएर सकिने छैन।

विपद्पछि बेपत्ता भएका नागरिकको अवस्था, खोजी तथा उद्धारमा भएका काम, राहत वितरण, प्रभावितको अस्थायी बसोबास र जीविकोपार्जनको अवस्था पनि समितिको जिम्मेवारीमा छ।

कहाँ काम भयो, कहाँ कमजोरी रह्यो र प्रभावितले राज्यबाट के पाए भन्ने विषयमा पनि समितिले सम्बन्धित निकायसँग विवरण माग्न सक्नेछ।

आवश्यक परे प्रभावित क्षेत्रमा पुगेर स्थलगत अध्ययन गर्न सक्नेछ।

भोटेकोशीको बाढीले घर मात्रै बगाएको छैन। सडक, पुल, ऊर्जा आयोजना, खानेपानी, सिँचाइ र अन्य सार्वजनिक संरचनामा पनि ठूलो क्षति पुगेको छ।

अब ती संरचना कसरी बनाउने भन्ने प्रश्न छ।

पुरानै ठाउँमा बनाउने कि जोखिम हेरेर सुरक्षित स्थान रोज्ने? कुन संरचना पहिले बनाउने? कति बजेट चाहिन्छ? कति समयमा सक्ने? निर्माणको गुणस्तर कसले हेर्ने?

यी विषयमा समेत समितिले सरकारलाई सुझाव दिनुपर्नेछ।

कार्यादेशमै क्षतिग्रस्त आवास तथा पूर्वाधारको पुनर्निर्माणका लागि जोखिम मूल्यांकन, सुरक्षित स्थान छनोट, प्राविधिक मापदण्ड, प्राथमिकता, वित्तीय स्रोत र समयसीमासहितको मार्गचित्र सुझाउने व्यवस्था गरिएको छ।

भोटेकोशीपछि उठेको अर्को ठूलो प्रश्न पूर्वसूचना प्रणालीको हो।

हिमतालमा जोखिम बढ्दा कसरी थाहा पाउने? नदीको बहाव बढ्दा तल्लो तटीय बस्तीलाई कति अगाडि सूचना दिने? पहिरोको जोखिममा रहेका बस्तीलाई कसरी सार्ने?

समितिले यिनै विषयमा पनि अध्ययन गर्नेछ।

बहुप्रकोप जोखिम नक्सांकन, सुरक्षित बस्ती विकास, जोखिममा रहेका पूर्वाधारको संरक्षण र समुदायको पूर्वतयारीबारे सुझाव दिने कार्यादेश समितिलाई छ।

हिमताल, नदी, वर्षा र पहिरोको निगरानीदेखि जोखिममा रहेका नागरिकसम्म चेतावनी पुर्‍याउने र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रणाली बलियो बनाउनुपर्ने विषय पनि कार्यादेशमा समेटिएको छ।

समितिको नाममै जलवायु न्याय जोडिएको छ।

नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको जोखिम, प्रभावित नागरिकले बेहोरेको हानि तथा नोक्सानी र जलवायु वित्तमा नेपालको पहुँचबारे पनि समितिले अध्ययन गर्नेछ।

हिमालय संरक्षण, प्राविधिक तथा वित्तीय सहयोग, संयुक्त अनुसन्धान र सीमापार जोखिम सूचना आदानप्रदानका विषयमा सरकारलाई सुझाव दिने जिम्मेवारी पनि छ।

विपद् व्यवस्थापन, वातावरण, जलवायु परिवर्तन, भूउपयोग र पूर्वाधार सुरक्षासँग सम्बन्धित कानुनमा सुधार आवश्यक छ कि छैन भन्ने पनि समितिले हेर्नेछ।

आवश्यक परे नयाँ कानुन बनाउन वा पुराना कानुन संशोधन गर्न संसद्लाई सिफारिस गर्न सक्नेछ।

समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङ्मा ग्याबु शेर्पा, रमेशकुमार मल्ल, रवीन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया छन्।

समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले तीन महिना तोकिएको छ। काम नसकिए कारणसहित म्याद थप माग्न सकिने व्यवस्था छ।

तर अहिले समस्या म्याद थपको होइन।

संसद्ले समिति बनायो, कार्यादेश दियो, सदस्य तोक्यो। अब बाँकी छ बैठक बस्ने र काम थाल्ने।

भोटेकोशीका प्रभावित नागरिकका लागि भने यो कुनै कागजी प्रक्रिया मात्रै होइन। बेपत्ता आफन्तको खोजी, विस्थापितको बसोबास, भत्किएको सडक–पुल र फेरि त्यही ठाउँमा अर्को विपद् आउँदा के गर्ने भन्ने प्रश्न अहिले नै उनीहरूका अगाडि छ।

राईले सम्झाए प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम- सोधे, ‘कहिले हुन्छ?’

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम लामो समयदेखि हुन नसकेको भन्दै सभामुख डोलप्रसाद अर्यालसँग जवाफ मागेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि भदौ १० गते तोकिएको मिति बितिसक्दा पनि कार्यक्रम हुन नसकेकोप्रति असन्तुष्टि जनाए। उनले निर्धारित मितिको एक महिना दुई दिन बितिसक्दा पनि प्रश्नोत्तर कार्यक्रम हुन नसकेको भन्दै अब कहिले सञ्चालन हुने हो भन्ने प्रश्न गरे।

‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने दिन भदौ १० गते तोकिएको थियो। तर, एक महिना दुई दिन भइसक्यो, त्यो दिन अझै आएको छैन,’ राईले भने, ‘सरकारले अब केटाकेटी खेल खेल्न छोड्नुपर्छ।’

उनले पछिल्लो समय भइरहेको पक्राउ तथा रिहाइको प्रक्रियामाथि पनि प्रश्न उठाए। घटनाको गम्भीरता र त्यससँग सम्बन्धित तथ्य नहेरी हचुवाका भरमा पक्राउ गर्ने र त्यसको भोलिपल्टै रिहा गर्ने सरकारी कार्यशैली उचित नभएको उनको भनाइ थियो।

‘विषय कति गम्भीर हो भन्ने कुराको ख्याल गरेर मात्रै पक्राउ गरिनुपर्छ। पक्राउ गर्ने र भोलिपल्टै छोड्ने काम कत्तिको उपयुक्त हो ?’ उनले प्रश्न गरे।

राईले आफूहरू प्रतिपक्षमा रहे पनि राष्ट्रिय मुद्दा तथा विकास निर्माणका विषयमा सरकारलाई सहयोग गर्दै आएको बताए। तर, सरकारको गैरजिम्मेवार कार्यशैलीका कारण प्रतिपक्षी दलका सांसदहरूलाई समेत आफ्नो भूमिका निर्वाह गर्न कठिन भइरहेको उनको भनाइ थियो।

‘हामी प्रतिपक्षी भए पनि सरकारलाई साथ दिने गरिरहेका छौँ, तर सरकारको गैरजिम्मेवारपनले काम गर्न कठिन भइरहेको छ,’ उनले भने।

वर्षाले धापाखेलमा साढे दुईतले घर ढल्यो

काठमाडौं । ललितपुर महानगरपालिका-२४ धापाखेलमा लगातारको वर्षाका कारण मंगलबार बिहान साढे दुई तले घर ढलेको छ।

घर जोखिममा देखिएपछि सोमबार नै परिवारका तीनै सदस्यलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुन पाएन।

वडा कार्यालय नजिकै भिरालो जमिनमा बनेको सोवितकुमार थापाको घर बिहान ६ः३५ बजे पल्टिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

साथै, तीन आना जग्गामा बनेको घर लगातारको वर्षाले जमिन गलेपछि ढलेको प्रहरीले जनाएको छ।

 

सरकारको शैली केटाकेटी खेलेजस्तो : सांसद राई

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकारको कामकारबाहीप्रति प्रश्न उठाउँदै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गर्ने र छाड्ने घटनाले सरकारको गतिविधि केटाकेटी खेलेजस्तो देखिएको टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले पछिल्ला घटनामा सरकारको व्यवहार लुकिछिपी गर्ने खालको देखिएको बताए।

‘सरकारलाई हाम्रो सल्लाह छ, यो केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो गतिविधि भइरहेको छ कि। घरी भरत दाहाल पक्रियो, छाडियो। घरी चोलेन्द्रशमशेर पक्रियो, छोडियो,’ उनले भने, ‘विषय गम्भीर छ भने सिरियसली लाग्नुहोला।’

राईले लामो समयदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न राखेर जवाफ लिन खोजिरहेको भन्दै प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न पनि माग गरे।

‘लामो समयदेखि प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा प्रश्न बोकेर बसेका छौँ,’ उनले भने।

राई भोजपुर–१ बाट प्रतिनिधिसभामा निर्वाचित श्रम संस्कृति पार्टीका सांसद हुन्।

सरकारले गुण्डागर्दी र आतंक मच्चाइरहेको छ : ऐन महर

काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले सरकारले कानुनको शासन उल्लंघन गर्दै नागरिकलाई प्रतिशोधका आधारमा पक्राउ गर्ने र तर्साउने काम गरिरहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले गैरकानुनी तरिकाले पक्राउ गरेको दाबी गरे। उनले सरकारमाथि राजनीतिक प्रतिशोधका आधारमा नागरिकलाई दुःख दिने काम भइरहेको आरोप लगाए।

‘सरकारले कानुनको शासनको उल्लंघन गरिरहेको छ। चोलेन्द्रशमशेरलाई गैरकानुनी तरिकाले सरकारले पक्राउ गर्‍यो,’ उनले भने, ‘सरकारले पटक–पटक प्रतिशोधका आधारमा नागरिकलाई तर्साउने काम गरेको छ।’

महरले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले उपाध्यक्ष विष्णु पौडेलको पक्राउको प्रसंगसमेत उठाए। ओलीलाई ‘गुण्डा शैलीमा, अपहरण शैलीमा’ पक्राउ गरेर मानव अधिकार उल्लंघन गरिएको उनको आरोप थियो।

‘कहिले पूर्वप्रधानमन्त्री केपी ओलीलाई नै गुण्डा शैलीमा, अपहरण शैलीमा मानव अधिकार उल्लंघन गर्दै पक्राउ गर्‍यो। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई त्यसैगरी पक्राउ गर्‍यो,’ उनले भने।

सरकारले ‘गुण्डागर्दी र आतंक’ मच्चाइरहेको आरोप लगाउँदै महरले पछिल्लो गतिविधिले सरकारप्रति प्रश्न उठेको बताए।

उनले सरकारले जेनजी आन्दोलनलाई समेत बदनाम गर्ने गरी काम गरिरहेको आरोप लगाए। ‘जेनजीलाई चाहिँदाको भाँडो नचाहिँदाको ठान्डोजस्तो गर्‍यो सरकारले,’ महरले भने।

अन्डरवेयरभित्र सुन लुकाएर ल्याएका भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्डरवेयरभित्र लुकाएर ल्याएको ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका दिल्लीका करिब ४६ वर्षीय अस्लम शौकतलाई विमानस्थलमा अस्वाभाविक गतिविधि गरिरहेको अवस्थामा प्रहरीले शंका लागेर जाँच गरेको थियो।

जाँचका क्रममा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइएको ४२२.५ ग्राम पहेँलो धातु फेला परेको प्रहरीले जनाएको छ। दुईवटा गोलाकार अर्धठोस अवस्थामा रहेको उक्त धातु सुन भएको प्रारम्भिक दाबी गरिएको छ।

प्रहरीका अनुसार उनलाई आइतबार दिउँसो विमानस्थलमा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका शौकतलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।

बरामद धातुको वास्तविक प्रकृति तथा सुनको शुद्धतासम्बन्धी परीक्षण र थप अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।

गाजा र लेबनान गाभ्ने इजरायली मन्त्रीको हुंकार

एजेन्सी। इजरायलका अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा र दक्षिण लेबनानको भूभाग इजरायलमा गाभ्नुपर्ने प्रस्ताव अघि सारेका छन्। यतिमात्र होइन, कब्जामा रहेको वेस्ट बैंकमा पनि गाजामा जस्तै सैन्य अभियान चलाउनुपर्ने उनको माग छ।

इजरायली समाचार संस्था ‘वाइनेट’को पोडकास्टमा बोल्दै स्मोट्रिचले गाजाको ‘येलो लाइन’सम्म र लेबनानमा लितानी नदीसम्मको क्षेत्र इजरायलमा गाभ्नुपर्ने बताएका हुन्।

उनको तर्क छ, युद्ध सुरु भएको ठाउँकै सीमामा पुगेर युद्ध रोकियो भने अर्को युद्ध रोक्ने आधार कमजोर हुन्छ। त्यसैले इजरायलले सुरक्षा सुनिश्चित गर्न नियन्त्रणको सीमा थप विस्तार गर्नुपर्ने उनको धारणा छ।

स्मोट्रिचले वेस्ट बैंकमा ‘गाजामा जे गरियो, त्यही गर्नुपर्ने’ बताएका छन्। उनले प्यालेस्टाइनी प्राधिकरणलाई विघटन गर्नुपर्ने र आफूले आतंकवादी संरचना भनेका समूह, हतियार तथा सुरुङ हटाउन सैन्य कारबाही अघि बढाउनुपर्ने बताएका छन्।

उनको भनाइमा वेस्ट बैंकमा सैन्य अभियान त्यतिबेलासम्म जारी राखिनुपर्छ, जतिबेलासम्म त्यहाँ सशस्त्र गतिविधि र त्यससँग जोडिएको संरचना बाँकी रहन्छ।

स्मोट्रिचको अभिव्यक्तिप्रति प्यालेस्टिनी विदेश मन्त्रालयले आपत्ति जनाएको छ। उसले यस्तो भनाइलाई युद्ध, विलय र विस्थापनतर्फ धकेल्ने खतरनाक आह्वानका रूपमा व्याख्या गर्दै प्यालेस्टिनी राज्य स्थापनाको सम्भावना कमजोर पार्ने प्रयास भएको जनाएको छ।

प्यालेस्टिनी पक्षले अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र अमेरिकालाई यस्तो कदम रोक्न ठोस पहल गर्न आग्रह गरेको छ।

दक्षिण लेबनानका लागि स्मोट्रिचले लितानी नदीसम्मको क्षेत्रलाई इजरायलमा गाभ्ने कुरा गरेका छन्। लितानी नदी दक्षिण लेबनानको महत्वपूर्ण भौगोलिक क्षेत्र हो।

इजरायली सेनाले दक्षिण लेबनानमा विभिन्न सुरक्षा क्षेत्र कायम राखेको अवस्थामा स्मोट्रिचको पछिल्लो भनाइ आएको हो। यसअघि पनि उनले लेबनानतर्फ इजरायलको सीमा लितानी नदीसम्म विस्तार गर्नुपर्ने धारणा राख्दै आएका थिए।

सन् १९६७ को युद्धपछि वेस्ट बैंक इजरायली सैन्य कब्जामा छ। त्यहाँ इजरायली बस्ती विस्तार र प्यालेस्टिनीमाथिको हिंसा तथा विस्थापनको विषय लामो समयदेखि विवादको केन्द्रमा छ।

स्मोट्रिच स्वयं वेस्ट बैंकमा इजरायली सार्वभौमसत्ता विस्तारका कट्टर समर्थकका रूपमा परिचित छन्। उनको नेतृत्वमा रहेको धार्मिक जियोनिज्म पार्टीले पनि यसलाई आफ्नो राजनीतिक एजेन्डाको महत्वपूर्ण हिस्सा बनाउँदै आएको छ।

तर स्मोट्रिचको पछिल्लो अभिव्यक्ति इजरायली सरकारको औपचारिक रूपमा पारित निर्णय भने होइन। यो उनको राजनीतिक तथा नीतिगत धारणा हो। उनको भनाइ त्यहाँको आगामी चुनावी राजनीतिसँग समेत जोडिएको समयमा आएको छ।

गाजा, दक्षिण लेबनान र वेस्ट बैंकसम्बन्धी स्मोट्रिचका पछिल्ला प्रस्तावले इजरायलभित्रको दक्षिणपन्थी राजनीतिक धारले क्षेत्रीय सीमा, सैन्य नियन्त्रण र प्यालेस्टिनी राज्यको प्रश्नलाई कुन दिशाबाट हेर्दैछ भन्ने बहसलाई फेरि सतहमा ल्याएको छ।

वर्षाका कारण देशभरका यी सडक छन् अवरुद्द

काठमाडौं । पछिल्ला चार दिनदेखि भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो र सडक भासिने घटनाले देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालिकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वतलगायत जिल्लाका सडकमा यातायात अवरुद्ध भएको हो।

रसुवाको पासाङ ल्हामु राजमार्ग बाढीले त्रिशूली नदी किनारको अधिकांश भाग कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि काठमाडौं-टोखा-छहरे-विदुर-नुवाकोट हुँदै दरबार-फलाँटे-चोकदे-लच्याङ-सरमथली-पाच्र्याङ-भोर्ले-जिरो किलोमिटर-कालिकास्थान-स्याउबारी-राम्चे-सोले-धुञ्चे हुँदै स्याफ्रुबेँसी पुग्ने एक लेनको कच्ची वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

नुवाकोटको टोखा-छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। अर्को सूचना जारी नभएसम्म उक्त व्यवस्था लागू रहनेछ।

पृथ्वीराजमार्गका विभिन्न स्थानमा पनि पहिरो खसेपछि यातायात प्रभावित भएको छ। कृष्णभीर क्षेत्रमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको छ भने बेनिघाट रोराङ-१० को पानीधारामा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि अर्को सूचना नभएसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिएको छ। बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ चारसयबेँसी र रोशी-८ गिम्दीबेँसीमा पहिरो गएपछि सडक अवरुद्ध छ। धुलिखेल नगरपालिका-८ पकुचामा पहिरो खसेपछि अरनिको राजमार्गसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशमा मनाङको बेँसीसहर-खाङसार सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मनाङकै चामे-बेँसीसहर सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागलुङको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर, रोल्पाको घोराही-थवाङ-रुकुम सहिदमार्ग तथा कालिकोटको कर्णाली राजमार्ग पनि पहिरो र लेदोका कारण अवरुद्ध भएका छन्। गुल्मीका रिडी-तम्घास मदनभण्डारी राजमार्ग, रुद्रबेँसी–वामीटक्सार सडक तथा कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो र खोलाको बहाव बढेपछि यातायात सञ्चालन प्रभावित भएको छ।

त्यसैगरी म्याग्दीको बेनी-जोमसोम, मुस्ताङको जोमसोम-कोरला, हुम्लाको कर्णाली करिडोर, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, पाल्पाको सिद्धार्थ राजमार्ग र ललितपुरको कान्तिलोकपथमा पनि पहिरो तथा लेदोका कारण यातायात सञ्चालन हुन सकेको छैन।

लमजुङको बेँसीसहर-मनाङ सडक तथा मध्यपहाडी लोकमार्ग, तनहुँको पृथ्वीराजमार्ग र पर्वतको मालढुङ्गा-बेनी सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण जोखिम बढेपछि देशका विभिन्न सडकखण्डमा रातिको आवागमन रोक्ने तथा कतिपय सडकमा पूर्ण रूपमा यातायात बन्द गर्ने निर्णय गरिएको छ। प्रहरीले जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका सूचनाअनुसार मात्र यात्रा गर्न आग्रह गरेको छ। 

हिमपहिरोमा सम्पर्कविहीनको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइयो

मनाङ। हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएकाहरूको खोजी सोमबार बिहानैदेखि तीव्र पारिएको छ।

सम्भावित क्षेत्रमा हेलिकप्टरबाट निगरानी गर्नुका साथै उद्धार टोली घटनास्थलमै पुगेर खोज तथा उद्धारमा जुटेको छ।

हिमपहिरोमा १० जना सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी आए पनि यकिन संख्या अझै पुष्टि हुन सकेको छैन। मनाङ प्रशासनले घटनाको विस्तृत विवरण संकलन गर्दै सम्पर्कविहीनहरूको अवस्था पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ।

आइतबार उद्धार गरिएका दुई जनाको शव चामे ल्याइएको थियो। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार ती दुवै शव काठमाडौं ल्याएर शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र सम्बन्धित उद्धार टोली परिचालन गरिएको प्रशासनले जनाएको छ।

दुर्गम क्षेत्रमा हिमपहिरो गएको र मौसमको अवस्थाले समेत उद्धारमा चुनौती थपिएको बताइएको छ।

 

पृथ्वी राजमार्ग ठप्प, पहिरो पन्छाउँदै डोजर [तस्वीरहरू]

धादिङ। पृथ्वीराजमार्गअन्तर्गत बेनिघाटरोराङ गाउँपालिका-१०, चिसोपानी धारा नजिक खसेको पहिरो पन्छाउन डोजर परिचालन गरिएको छ।

सोमबार साँझ खसेको पहिरोका कारण अवरुद्ध सडक खुलाउन अहिले पहिरो हटाउने काम भइरहेको हो। पहिरोका कारण पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प छ।

सडक अवरुद्ध भएपछि राजमार्गमा गुडिरहेका सवारीसाधनलाई सुरक्षित स्थानमा होल्ड गरिएको छ।