`

बिजुलीको पोल ढलेपछि अशोकधाममा सातजनाको निधन

काठमाडौं । भारतको बिहारस्थित लखीसराय जिल्लाको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान भएको भागदौडमा कम्तीमा सात जना भक्तजनको मृत्यु भएको छ। घटनामा केही भक्तजन घाइते भएका छन्।

साउन महिनाको तेस्रो सोमबार शिव मन्दिरमा पूजा तथा जल चढाउन ठूलो सङ्ख्यामा भक्तजन अशोकधाम पुगेका थिए। बिहानैदेखि मन्दिर परिसर र आसपासका क्षेत्रमा भक्तजनको भीड बढ्दै गएको थियो। मन्दिरमा जाने भक्तजनको लाम अशोकधाम रेलवे हाल्टसम्म पुगेको थियो।

भीड व्यवस्थापन भइरहेका बेला रेलवे हाल्ट नजिक रहेको विद्युत्को पोल अचानक ढलेपछि घटनाले भयावह रूप लिएको हो। पोलसँग जोडिएको तार खसेपछि त्यसमा करेन्ट प्रवाह भइरहेको हल्ला फैलिएको थियो। उक्त हल्लासँगै भक्तजनबीच त्रास उत्पन्न भएपछि एक्कासि भागदौड मच्चिएको प्रशासनले जनाएको छ।

लखीसरायका जिल्ला मजिस्ट्रेट शैलेन्द्र कुमारका अनुसार भागदौडका क्रममा विशेषगरी महिलातर्फको लाममा अत्यधिक चाप परेको थियो। मानिसहरू ज्यान जोगाउन हतारिएर भाग्न खोज्दा केही भक्तजन लडेको र उनीहरूमाथि अरू मानिससमेत खसेका थिए।

मजिस्ट्रेट कुमारले घटना निकै छोटो समयमा अचानक भएको बताए। उनका अनुसार करिब दुई मिनेटमै स्थिति नियन्त्रणबाहिर पुगेको थियो। घटनास्थलमा प्रहरी तथा प्रशासनका सुरक्षाकर्मी बिहान ३ बजेदेखि नै परिचालन गरिएको थियो।

लखीसरायका एसडीपीओ शिवम कुमारले सात जनाको मृत्यु भएको पुष्टि गरेका छन्। प्रारम्भिक रूपमा विद्युत्को पोल ढलेपछि करेन्ट लागेको जानकारी आए पनि भागदौडको वास्तविक कारण र घटनाको सम्पूर्ण अवस्थाबारे अनुसन्धान भइरहेको उनले बताए।

मृत्यु हुने सबै महिला भक्तजन रहेको जिल्ला प्रशासनले जनाएको छ। घटनापछि घाइतेहरूलाई तत्काल उद्धार गरी लखीसराय सदर अस्पताल तथा आसपासका स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो। घटनास्थलमा प्रहरी, जिल्ला प्रशासन र आपत्कालीन उद्धार टोली परिचालन गरिएको थियो।

बिहारका मन्त्री विजय कुमार सिन्हाले घटनाप्रति दुःख व्यक्त गर्दै विद्युत्को तारमा करेन्ट प्रवाह भइरहेको भन्ने हल्लाले भक्तजनमा त्रास सिर्जना गरेको बताए। उनले गलत सूचना वा हल्ला फैलाउने व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गरिने बताएका छन्।

केन्द्रीय मन्त्री राजीव रञ्जन ‘लालन’ सिंहले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले साउन महिनाको सोमबारका कारण अशोकधाममा ठूलो सङ्ख्यामा भक्तजन जम्मा भएको उल्लेख गरेका छन्।

घटनापछि बिहार सरकारले मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। मुख्यमन्त्री सम्राट चौधरीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै सरकार पीडित परिवारको साथमा रहेको बताएका छन्।

ठूलो धार्मिक भीड जम्मा हुने स्थानमा विद्युत् तथा अन्य पूर्वाधारको सुरक्षाबारे प्रश्न उठाउँदै घटनापछि सुरक्षा व्यवस्थाको समीक्षा गर्नुपर्ने आवाजसमेत उठेको छ। प्रशासनले भने घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

‘गालामा मालिस गरिदिनु’

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले ‘गालामा मालिस गरिदिन’ निर्देशन दिएका छन्। त्रिशूली नदीमा सरकारले बाँसको पुल निर्माण गर्न लागेको भन्दै भ्रम फैलाउनेलाई व्यंग्यात्मक शैलीमा गालामा थप्पड लगाउन निर्देशन देइका हुन्।

स्थानीयका गुनासा सुन्न गोरखा पुगेका गृहमन्त्री गुरुङ आइतबार सहिद लखन गाउँपालिका-४, ताक्लुङ पुगेका थिए। स्थानीयसँगको भेटघाटका क्रममा त्रिशूली नदीमा सरकारले बाँसको पुल निर्माण गर्न लागेको भन्ने चर्चा चलेको विषय उठेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

स्थानीयले त्रिशूली नदीमा सरकारले बाँसको पुल हाल्न लागेको कुरा गृहमन्त्रीसमक्ष राखेका थिए। त्यसको जवाफ दिँदै गुरुङले त्रिशूलीजस्तो नदीमा बाँसको पुल निर्माण गर्ने कुरा नै हास्यास्पद भएको बताए।

‘त्रिशूलीमा कसरी बाँसको पुल राख्ने ? २७ लाख पनि राज्यकै पैसा होला नि बाँसको पुल राख्नलाई। जो मान्छेले यहाँदेखि त्यहाँसम्म बाँसको पुल बन्छ भनेर भ्रम फैलायो, मलाई थाहा छैन त्यो को हो। साह्रै बुद्धु मान्छे रहेछ,’ उनले भने।

गुरुङले नेपाल सरकारले त्रिशूली नदीमा बाँसको पुल बनाउने कुरा सम्भव नभएको दाबी गर्दै त्यहाँ पक्की पुल निर्माण हुने बताए। उनले भने, ‘कहीँ बाँसको पनि पुल बन्छ ? यहाँदेखि त्यहाँसम्म, त्यही पनि त्रिशूलीमा बाँसको पुल बन्छ ! नेपाल सरकार त्यति लाटो छ र ? त्रिशूलीमा बाँसको पुल राख्छ ?’

उनले त्रिशूलीमा ठूलो लगानीमा पक्की पुल निर्माण हुने संकेत गर्दै भ्रम फैलाउने प्रवृत्तिको आलोचना गरे। ‘२७-२८ लाखको पुल बन्छ होला नि। जसले यो भ्रम फैलायो, अब नेक्स्ट टाइम जसले यस्तो भ्रम फैलाउँछ, गालामा यसो मालिस गरिदिए हुन्छ। सुमसुम्याइदिए हुन्छ, के कुरा गर्नुभएको भनेर,’ उनले व्यंग्य गर्दै भने।

गृहमन्त्री गुरुङले स्थानीय तहमा विकास निर्माणसम्बन्धी गलत सूचना र हल्ला फैलिँदा जनतामा अन्योल सिर्जना हुने भन्दै वास्तविकता बुझेर मात्रै धारणा बनाउन आग्रह गरेका छन्।

फोन गर्नासाथ चिकित्सक र औषधिसहित एम्बुलेन्स घरमै [तस्वीरहरू]

ललितपुर। ललितपुर महानगरपालिकाले चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सेवा सुरु गरेको छ। महानगरवासीले ११३१ नम्बरमा फोन गरेर यो सेवा लिन सक्नेछन्।

फोनमार्फत स्वास्थ्य समस्या जानकारी गराएपछि आवश्यकताअनुसार औषधिसहित स्वास्थ्यकर्मी बिरामीको घरमै पुग्ने व्यवस्था गरिएको महानगरले जनाएको छ।

घरमै उपचार तथा औषधिबाट स्वास्थ्यमा सुधार नआए वा थप उपचार आवश्यक देखिएमा सोही एम्बुलेन्समार्फत बिरामीलाई अस्पतालसम्म लैजाने व्यवस्था पनि गरिएको छ।

महानगरपालिकाले यस सेवामार्फत आकस्मिक स्वास्थ्य समस्या भएका नागरिकलाई समयमै स्वास्थ्यकर्मीको पहुँचमा पुर्‍याउने र आवश्यक परे अस्पतालसम्म लैजान सहज बनाउने उद्देश्य राखेको छ।

तस्वीरहरू:

 


 

ज्वरो आउने बित्तिकै हेलिकप्टर!

काठमाडाैं। अनुगमन र पार्टी कार्यक्रमका सिलसिलामा बैतडी पुगेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल बैतडीमा बिरामी परे। उनलाई त्यहाँ सामान्य ज्वरो, रुघाखोकी र टाउको दुख्ने समस्या देखिएको थियो– मन्त्री लम्सालसँगै कार्यक्रममा सहभागी एक जना बताउँछन्।

सामान्य बिरामी परेकै अवस्थामा लम्सालले हेलिकप्टर चार्टर गरे र काठमाडौं हानिए। यो सरकार गठन हुनुभन्दा अगाडि मन्त्री लम्सालकै टिमका नेताहरूले गाडी चढेर हिँड्दा पनि गालीको वर्षा गराउने टोलीमा पर्थे। तर ‘आफूलाई नपरी थाहा हुँदैन’ भन्ने नेपाली उखानसँग मिल्ने गरी मन्त्री लम्साललाई आफूलाई ज्वरो आउँदा भने हेलिकप्टर नै चार्टर गर्नुपर्ने अवस्था सिर्जना भयो।

यो घटनाप्रति सार्वजनिक वृत्तबाट विभिन्न किसिमका टिप्पणी भइरहेका छन्। कतिपयले जनता भने ग्यास, पासपोर्ट, लाइसेन्सका लागि, अस्पतालमा कुपनका लागि र किसान मलका लागि लाइन बस्नुपर्ने, तर मन्त्री भएकै भरमा केहीले भने सरकारी सम्पत्तिमाथि रजगज गरिरहेको भन्दै आलोचना गरिरहेका छन्।

अर्कोतिर, सुदूरपश्चिममै राम्रा अस्पताल छन्। अझ मन्त्री लम्साल पनि सहभागी देश बनाउने टोलीले नदेखेको र ‘३५ वर्षमा केही पनि भएन’ भन्ने भाष्यको ठीक विपरीत नेपालका ७७ वटै जिल्लामा राम्रा अस्पताल पनि छन्। अझ पालिका–पालिकामा र वडा–वडामा अस्पताल छन्, जहाँ ज्वरो, टाउको दुखेको, रुघा लागेको जस्ता सामान्य बिरामीको सहजै उपचार हुन्छ।

धनगढीमै सेती प्रादेशिक अस्पताल छ, जहाँ लम्सालभन्दा गम्भीर प्रकृतिका लाखौँ बिरामीले उपचार गराउँछन्। तर लम्साल भने हेलिकप्टर चढेर काठमाडौं हुइँकिए र आवश्यक नभएको तामझाम देखाए भन्दै अहिले उनको चौतर्फी आलोचना भइरहेको छ।

 

किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न आदेश

काठमाडौं। पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

प्रहरीको मागअनुसार अदालतले श्रेष्ठको म्याद दोस्रोपटक थप गरेको हो।

यसअघि गत बुधबार राति पक्राउ परेका उनलाई अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

पहिलो म्याद सकिएपछि प्रहरीले थप अनुसन्धानका लागि समय मागेकोमा अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।

जनताले मागे ल्याब, गृहमन्त्रीले भने- भोट फिर्ता लिनुस्

काठमाडौं। चुनावका बेला गरेका वाचा सम्झाउँदै गोरखाका मतदाताले विकास निर्माणका काम र बजेटबारे प्रश्न गरेपछि गृहमन्त्री सुधन गुरुङले चार महिनामै कायापलट गर्न नसक्ने भन्दै बरु ‘भोट फिर्ता लैजान’ भनेपछि अहिले राजनीतिक वृत्त तातिएको छ।

गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङले आफ्नो पूर्वघोषित कार्यक्रमअनुसार हरेक महिना गृहजिल्ला पुगेर मतदातासँग भेटघाट गर्दै आएका छन्। यही क्रममा शनिबार भीमसेन थापा गाउँपालिका र आइतबार शहीद लखन गाउँपालिकाका स्थानीयसँग उनले भेटघाट गरेका थिए।

आइतबार बेलुका शहीद लखन गाउँपालिका-९ का स्थानीयसँग भएको भेटमा चुनावी वाचामाथि प्रश्न उठेपछि गृहमन्त्री गुरुङको यस्तो अभिव्यक्ति आएको हो। भेटमा वडाध्यक्ष रामकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सचिव खोपेन्द्र लामिछानेसहित स्थानीय सहभागी थिए।

कार्यक्रममा रास्वपा वडा सचिव लामिछानेले चुनावका बेला गाउँ आउँदा गुरुङले स्थानीय ल्याबका लागि बजेट छुट्याउने प्रतिबद्धता जनाएको स्मरण गराए। चुनावका बेला आफूले मन्त्रालयका सचिवलाई समेत फोन गरेर बजेटको व्यवस्था गर्ने बताएको उनको भनाइ थियो।

उनले प्रश्न गरे, ‘हजुरले यहाँ चुनावमा आउँदा ल्याबका लागि बजेट छुट्याउने भन्नुभएको थियो, मन्त्रालयको सचिवलाई समेत फोन गर्नुभएको थियो। आउने बजेटमा यहाँको आवश्यकता सम्बोधन गर्छु भन्नुभएको थियो। तर बजेटमा कहीँ पनि देखिएन, खै त ?’

जवाफमा गृहमन्त्री गुरुङले स्थानीय तहबाट माग भएका योजनाको सूची संकलन भइरहेको बताए। उनले स्थानीयले माग गर्ने साना–साना योजनाको संख्या धेरै रहेको भन्दै सबैलाई एकैपटक बजेटमा समेट्न कठिन हुने संकेत गरे।

‘यति साना-साना बजेटहरू छन् नि तपाईंका, यसरी किताबमा राख्ने हो भने महाभारत र रामायण मिक्स गरेर पनि बन्दैन,’ उनले भने।

गुरुङले आफूहरूले स्थानीय आवश्यकताअनुसार योजना राख्न सूची मागेको पनि बताए। त्यसपछि छलफलमा सहभागी एक व्यक्तिले गृहमन्त्रीसँगै रहेका व्यक्तिलाई स्थानीय योजनाको सूची पठाइएको वा नपठाइएकोबारे प्रश्न गरेका थिए। उनले सूची पठाइसकेको जवाफ दिएका थिए।

तर स्थानीयको असन्तुष्टि त्यतिमै रोकिएन। प्रश्नकर्ताले गाउँमा आफूहरूमाथि दबाब बढिरहेको भन्दै चुनावका बेला गरिएको प्रतिबद्धता पूरा गर्नुपर्ने बताए।

त्यसक्रममा गृहमन्त्री गुरुङले आफू सरकारमा आएको केही समय मात्रै भएको र तत्कालै सबै समस्या समाधान गर्न नसकिने बताए।

‘चार महिनामा अहिले बल्ल पहिलो बजेट हाम्रो आएको छ। तपाईंलाई काम भए पुग्ने होइन त ? चार महिनामा त फेरि कायापलट गर्न म सक्दिनँ, भोट लिएर जानुस्,’ गुरुङले भने।

गृहमन्त्रीको यो जवाफपछि कार्यक्रममा सहभागीहरू हाँसेको भिडियोमा देखिन्छ। त्यसपछि एक सहभागीले आफूहरूले चुनावमै जिताएर पठाइसकेको भन्दै यस्तो कुरा पहिले नै भन्नुपर्ने बताएका थिए।

त्यसको जवाफमा गुरुङले आफूले आफ्नो प्रतिबद्धता र आगामी कामबारे स्पष्ट रूपमा बताउँदै आएको दाबी गरे।

‘मलाई तपाईंहरूले विश्वास गर्न सक्नुहुन्न भने मलाई नजिताउनुस्। मलाई पाँच वर्ष हेर्नुस्,’ उनले भने।

उनले आफूले काम गर्ने आँटसहित जिम्मेवारी लिएको दाबी गर्दै तत्कालै सबै कुरा उपलब्ध गराउन सम्भव नहुने बताए।

‘चार महिनामा बल्ल १५ दिन/२० दिन भइराछ। अहिले चाहियो भन्दैमा पाइन्छ ?’ उनले प्रश्न गरे।

गृहमन्त्री गुरुङको स्थानीय मतदातासँग भएको यही संवादको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ। विशेषगरी चुनावका बेला गरिएको प्रतिबद्धता र निर्वाचित भएपछि त्यसको कार्यान्वयनबारे मतदाताले उठाएको प्रश्न तथा त्यसमा गृहमन्त्रीले दिएको ‘भोट फिर्ता लैजानुस्’ भन्ने जवाफलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।

स्थानीयले भने आफूहरूले तत्कालै सबै काम पूरा गर भन्न खोजेको नभई चुनावका बेला गरिएको प्रतिबद्धता र बजेटको अवस्थाबारे स्पष्ट जवाफ खोजेको बताएका छन्। विशेषगरी वडा नम्बर ९ मा ल्याब स्थापना तथा त्यसका लागि बजेट व्यवस्थापन गर्ने भनिएको विषय कार्यान्वयन नभएको भन्दै उनीहरूले प्रश्न गरेका थिए।

गुरुङले भने सरकारको पहिलो बजेट आएको छोटो समयमै सबै प्रतिबद्धता कार्यान्वयन गर्न नसकिने बताएका छन्। आफूलाई पाँच वर्षको कार्यकालका आधारमा मूल्यांकन गर्न आग्रह गर्दै उनले विश्वास नभए पुनः निर्वाचित नगर्नसमेत चुनौती दिएका छन्।

यसरी चुनावी वाचा, बजेट र स्थानीय अपेक्षाबीच गृहमन्त्री गुरुङ र मतदाताबीच भएको संवाद अहिले सामाजिक सञ्जालमा बहसको विषय बनेको छ।

मतदाताले भोट फिर्ता लिन मिल्छ ?

निर्वाचन सम्पन्न भएर परिणाम घोषणा भइसकेपछि मतदाताले आफूले दिएको मत व्यक्तिगत रूपमा फिर्ता लिन वा निर्वाचित प्रतिनिधिको मत रद्द गर्न नेपालको विद्यमान निर्वाचन प्रणालीमा कुनै कानुनी व्यवस्था छैन।

मतदानपछि निर्वाचित प्रतिनिधिको पदावधि संविधान र प्रचलित कानुनअनुसार कायम रहन्छ। मतदाताले भने निर्वाचित प्रतिनिधिको कामप्रति प्रश्न उठाउन, आलोचना गर्न र असन्तुष्टि व्यक्त गर्न सक्छन्।

त्यसपछि अर्को निर्वाचनमा भने मतदाताले आफ्नो मत परिवर्तन गर्न सक्छन्। अर्थात् दिएको भोट फिर्ता लिन मिल्दैन, तर अर्को चुनावमा त्यो प्रतिनिधिलाई पुनः मत नदिन भने सकिन्छ।

सर्च अप्रेसनपछि मोरङ कारागारमा किन मच्चियो बबण्डर?

काठमाडौं। जिल्ला कारागार मोरङमा सोमबार बिहान सुरक्षा निकायले सञ्चालन गरेको व्यापक खानतलासी अभियानपछि तनाव उत्पन्न भएको छ।

विराटनगर-८, हाटखोलास्थित कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीहरू प्रशासनको विरोध गर्दै भवनको छतमा चढेर नाराबाजीमा उत्रिएपछि कारागार परिसरमा सुरक्षा सतर्कता बढाइएको छ।

सुरक्षा निकायलाई प्राप्त विशेष सूचनाका आधारमा कारागारभित्र लागूऔषधलगायत अवैध वस्तु रहेको आशंकामा बिहानैदेखि ‘सर्च’ अप्रेसन सुरु गरिएको थियो। कारागारको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर विभिन्न स्थानमा खानतलासी गरिएको हो।

खानतलासी अभियान सञ्चालन भइरहेका बेला ‘बी ब्लक’का कैदीबन्दीहरू प्रशासनको विरोधमा उत्रिएका हुन्। उनीहरूले कारागारभित्र हुने भनिएको आर्थिक तथा मानसिक शोषण बन्द गर्नुपर्ने माग अघि सारेका छन्। माग सम्बोधन गर्नुपर्ने भन्दै उनीहरू भवनको छतमा चढेर नाराबाजी गरेका थिए।

जिल्ला सुरक्षा समितिको समन्वयमा कारागारभित्र खानतलासी अभियान सञ्चालन गरिएको हो। अभियानमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवाललगायत सुरक्षा अधिकारीहरूको टोली सहभागी थियो।

प्रहरीका अनुसार कारागारजस्तो संवेदनशील स्थानमा लागूऔषध तथा अन्य निषेधित वस्तुको प्रयोग वा ओसारपसार हुन नदिन समय–समयमा खानतलासी गर्ने गरिन्छ। सोमबारको अभियान पनि विशेष सूचनाका आधारमा सञ्चालन गरिएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले भने खानतलासीलाई नियमित सुरक्षा प्रक्रियाकै रूपमा व्याख्या गरेका छन्। उनका अनुसार कारागारको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर बेला–बेलामा यस्ता अभियान सञ्चालन हुँदै आएका छन्।

खानतलासीका क्रममा केही शंकास्पद कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने प्रशासनको तयारीसमेत रहेको थियो। तर, स्थानान्तरणको विषयमा कैदीबन्दीहरूले विरोध जनाएपछि प्रक्रिया तत्कालका लागि रोकिएको छ।

स्थानान्तरण रोकिएपछि पनि कैदीबन्दीहरू प्रशासनविरुद्ध नाराबाजीमा उत्रिएका थिए। उनीहरूले कारागारभित्र आफूहरूमाथि आर्थिक तथा मानसिक रूपमा दबाब सिर्जना गरिएको आरोप लगाउँदै त्यसको अन्त्य गर्नुपर्ने माग गरेका छन्।

कैदीबन्दीहरू छतमा चढेर आन्दोलनमा उत्रिएपछि कारागार परिसरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी कारागारलाई चारैतिरबाट सुरक्षा घेरामा राखिएको छ।

सुरक्षा निकायले कारागारभित्रको अवस्थालाई निगरानीमा राखेको छ। सम्भावित अप्रिय अवस्था हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।

सोमबारको घटनाले कारागार प्रशासन र कैदीबन्दीबीचको असन्तुष्टि सतहमा ल्याएको छ। सुरक्षा निकायले खानतलासीलाई नियमित प्रक्रिया भने पनि कैदीबन्दीहरूले भने प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका छन्।

विशेषगरी आर्थिक तथा मानसिक शोषणसम्बन्धी उनीहरूको आरोपलाई लिएर अब प्रशासनको धारणा पनि महत्वपूर्ण बनेको छ।

त्यस्तै, खानतलासीका क्रममा के-कस्ता सामग्री फेला परे र शंकास्पद भनिएका कैदीबन्दीलाई किन स्थानान्तरण गर्न खोजिएको थियो भन्ने विषय पनि स्पष्ट हुन बाँकी छ।

हाल कारागारमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने कैदीबन्दीहरूको आन्दोलन र प्रशासनको कदमबीच तनावको अवस्था कायम रहेको छ।

नागपोखरी र नागदहमा पूजाआजा गर्नेको भीड [तस्वीरहरू]

काठमाडौं। श्रावण शुक्ल पञ्चमीका अवसरमा आज देशभर नाग पञ्चमी पर्व मनाइँदै छ। यस दिन घरको मूल ढोकामाथि वा ढोकाको दायाँ–बायाँ नागको तस्बिर टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक परम्परा रहेको छ।

धार्मिक मान्यताअनुसार नागको तस्बिर घरको मूलढोकामा स्थापना गरी पूजा गरेमा वर्षभर नाग, सर्प, बिच्छीलगायत विषालु जीवबाट हुने भय तथा आगलागी, चट्याङजस्ता प्राकृतिक प्रकोपबाट घरपरिवार सुरक्षित रहने विश्वास गरिन्छ।

नाग पञ्चमीका दिन नागलाई देवताका रूपमा पूजा गर्दै दूध, अक्षता, फूल, दुबो तथा अन्य पूजाका सामग्री अर्पण गर्ने चलन छ। नागको पूजा प्रकृति, जलस्रोत तथा सर्पप्रतिको सम्मानसँग पनि जोडिएको पाइन्छ।

नाग पञ्चमीको अवसरमा काठमाडौंको नक्सालस्थित नागपोखरी, ललितपुरको नागदह तथा भक्तपुरको नागपोखरीमा बिहानैदेखि पूजाआजा र दर्शनका लागि श्रद्धालुको भीड लागेको छ।

ती स्थानमा पुगेका भक्तजनले नागको पूजा गर्नुका साथै परिवारको सुख, शान्ति, समृद्धि तथा सुरक्षा र मनोकामना पूरा होस् भन्ने कामना गरेका छन्।

विशेषगरी नागपोखरी र नागदहमा पूजाआजाका लागि बिहानैदेखि भक्तजन पुग्न थालेपछि धार्मिक स्थलहरूमा चहलपहल बढेको छ।

नाग पञ्चमीसँगै काठमाडौं उपत्यकाका विभिन्न नागस्थान तथा नागदेवताका मन्दिरमा पनि विशेष पूजा तथा धार्मिक गतिविधि भइरहेको छ।

 

रास्वपा सांसद थापा भन्छन्- हामी कसैको एक इन्च जग्गा मिच्दैनौँ

काठमाडाैं। प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता लालविक्रम थापाले सरकार गठन भएको छोटो अवधिमै व्यापक सुधारका काम सुरु गरिएको दाबी गरेका छन्। 

नेपालवान एचडीसँग सांसद थापाले जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा संरचनागत क्षतिप्रति सरकार गम्भीर रहेको बताएका हुन्। 

थापाले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले दिएको १८२ सिटको जनादेशलाई सामान्य राजनीतिक उपलब्धिका रूपमा मात्र लिन नहुने बताए। उनका अनुसार उक्त जनादेशसँगै जनताले सरकारलाई सुशासन, पारदर्शिता, निष्पक्षता, रोजगारी र आर्थिक सुधारको स्पष्ट जिम्मेवारीसमेत दिएका छन्।

सरकारले पाँच वर्षको म्यान्डेट पाएको उल्लेख गर्दै थापाले यो अवधिमा देशलाई एउटा दिशा देखाउन नसके फेरि जनतामाझ मत माग्न जाने नैतिक आधार नहुने बताए। 

अन्तर्वार्ताका क्रममा थापाले सुनसरीको कप्तानगञ्ज-देवानगञ्ज घटनालाई तत्काल साम्प्रदायिक वा धार्मिक दंगाका रूपमा निष्कर्षमा  पुग्न‍ नहुने बताए। घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन भइसकेकाले समितिको प्रतिवेदन आएपछि मात्रै दोषी र घटनाको मूल कारणबारे स्पष्ट धारणा बनाउनुपर्ने उनको भनाइ छ।

उनले मधेशको राजनीतिक अवस्था, हिन्दू राष्ट्रको बहस, राष्ट्रिय स्वतन्त्र पार्टीको बहुलवादी अवधारणा, सरकारको सुशासन अभियान, ‘नो लाइन, ओन्ली अनलाइन’ नारामाथि उठेका प्रश्न, सरकारी नियुक्तिमा देखिएका विवाद, प्रधानमन्त्री तथा पार्टी सभापतिबीचको सम्बन्ध, नेपाल-भारत सीमा विवाद, लिपुलेक बाइपास हुँदै भइरहेको व्यापार, प्रधानमन्त्रीको विवादित अभिव्यक्ति तथा सुकुमबासी व्यवस्थापनबारे पनि आफ्नो धारणा राखेका छन्।

सांसद थापाले सुकुमबासीलाई सरकारले लखेटेको नभई व्यवस्थापन गरेको दाबी गर्दै भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न डिजिटल भूमि प्रशासनको तयारी भइरहेको बताए। विस्थापितहरूको विवरण संकलन भइरहेको र वास्तविक रूपमा छुटेका व्यक्तिलाई समेटेर लालपुर्जा तथा आवासको व्यवस्था गर्ने उनको दाबी छ।

प्रस्तुत छ- नेपालवान एचडीका लागि रामचन्द्र जोशीले थापासँग गरेको भिडियो-वार्ताको संक्षिप्त र सम्पादित अंश:  

सुनसरीको कप्तानगञ्‍ज र देवानगञ्‍जमा जुन घटना घट्यो, कसरी घट्‍याे? यसलाई के भन्‍ने?

सुनसरी आज पनि स्तब्ध छ। साउन १० गते भोलिपल्ट सोमबार थियो। सोमबार बोलवम जानको लागि तयारी भएर बसेका भाइहरू, आमाहरू, काकीहरू जम्मा भएर जाने क्रममा डिजे जहिले पनि बजाउने गरिन्छ। अनि त्यो डिजेको साउन्डको कारणले गर्दाखेरि नै त्यो एउटा घटना घट्यो। एकथरीले डिजेको आवाज ठूलो भयो, अर्कोले चाहिँ नबजाउनुस् भन्ने कुराहरु भन्दै गर्दाखेरि दुई पक्ष बीचमा घटना सुरु भएको भन्ने देखिन्छ। त्यो भन्दा अगाडि चाहिँ केही झण्डाका सवाल पनि थियो। 

त्यो बोर्डर एरिया भएको कारणले गर्दा त्यहाँ भारतीय नम्बर प्लेटका गाडीहरू आउनु, बाइकहरू आउनु चाहिँ त्यसलाई स्वाभाविक रूपमै मान्छौँ हामीले।

त्यो घटनाबारे अहिले सबैले अनुमानको भरमा मात्रै बोल्ने हो। किनभने वास्तविक चाहिँ के हो भन्ने खालको कुरामा अहिले गृहमन्त्रीज्यूको सक्रियतामा एउटा छानबिन समिति बनेको छ। त्यो छानबिन समितिको प्रतिवेदन आइसकेपछि मात्रै वास्तवमा को कहाँनेर झुक्यो, के कारणले त्यो घटना भयो भन्ने खालको विषयमा चाहिँ प्रवेश गर्दा मलाई लाग्छ राम्रो हुन्छ होला।

तपाईंको पार्टीका सांसद मनिष झाले ‘आगो निभेको छ, मधेशमा दाउरा चाहिँ निभिसकेको छैन’ भन्नुभएको थियो अस्ति?

हजुर, हजुर।

त्यो हो परिस्थिति मधेशको अहिले?

मलाई मनिष झा असाध्यै मनपर्ने नेता पनि हो। उहाँले दिएको अभिव्यक्ति के सँग सम्बन्धित, कुन कुरालाई चाहिँ उहाँले इन्डिकेट गर्न खोज्नुभएको हो, त्यो मैले अलि ठ्याक्कै भन्न मिलेन।

यो घटनालाई हिन्दु राष्ट्रको पक्षमा माहोल बनाउन खोजिएको हो, त्यसरी पनि व्याख्या गरियो। त्यस्तो हो ?

म यहाँलाई स्मरण गराऊँ अलिकति। यो पाटोको उत्तर दिनुपूर्व हामीले अलिकति के बुझ्नुपर्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको आफ्नो विधानमा नै बहुलवाद भनेर व्याख्या गरेको छ। बहुलवाद भनेको के भने राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले विभिन्न विचार भएका हरेक विचारलाई मन्थन गर्छ। ती सबै विचारहरू सुन्नुपर्छ भन्ने कुरा हो।

हिन्दु सम्राट सेना, त्यो पनि एउटा विचार हो। यो समाजको विचार हो। उहाँहरूले कस्तो विचार राख्दै हुनुहुन्छ, उहाँहरूकाे के हो कुराकानी भनेर सम्माननीय प्रधानमन्त्रीज्यूले वा गृहमन्त्रीज्यूले त कुरा सुन्नुपर्छ। सबै वाद वा विचारलाई स्पेस दिनुपर्छ।

२३ र २४ भदौको आन्दोलनमा परिवर्तन, सुशासन पारदर्शिता भनिएको थियो।  सरकार बनेको चार महिनामा के के परिवर्तन भयो? 

अहिलेको सरकारको मुख्य म्यान्डेट भनेको सुशासन स्थापित गर्नु नै हो। अहिले हामी चार महिनाको परिधिमा छौँ। 

तपाईंले हेर्दै गरेको सिंहदरबार र त्यो भन्दा अगाडिको सिंहदरबार के थियो? माकुराले जालैजालो लगाएको, कर्मचारी पनि नआउने, आएका पनि छुट्टी गर्ने, हिँडिहाल्ने जुन परिपाटी थियो। अहिले के छ? बिहान ९ बजे आउने, बेलुका ५ बजेसम्म हरेक दिन जनताको काम। 

तपाईंहरूले चुनावताका एउटा गजबको नारा भन्नुभएको थियो, ‘नो लाइन, ओन्ली अनलाइन’। तर अहिले लाइनै लाइन?

यसलाई कसरी हेर्नुपर्यो भने सबै चिजहरू ठीकठाक बनाउनको लागि अलिकति समय लाग्छ ।

तपाईंहरूले त १०० दिनमा कायापलट गर्छौँ भन्नुभएको हैन त?

गर्यौँ त।

के के गर्नुभयो?

धेरै ठाउँमा गरेका छौँ। अहिले तपाईंले कम्पनी रजिस्ट्रार कार्यालयमा गएर हेर्नुभयो भने एआई मोडलमा लगिसक्यौँ। त्यहाँ लाइन बस्नु पर्दैन। घरैबाट अनलाइनबाटै काम हुन्छ। अरू कुराहरूमा अहिले हामीले प्रणाली बसाइरहेका छौँ। 

अहिले तीन तहको सरकार छ। प्रदेशमा सातै वटा प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको छैन। संघले गर्ने एउटा होला, प्रदेशले गर्ने एउटा होला, स्थानीय सरकारले गर्ने एउटा होला। यी सबै तीनै तहका सरकारहरू जिम्मेवार रहनुपर्छ।

आजको दिनमा हेर्नुहुन्छ भने अहिले राष्ट्रिय स्वतन्त्र पार्टी र सम्माननीय प्रधानमन्त्रीज्यू बालेन शाहले नेतृत्व गर्नुभएको संघीय सरकार जुन छ, याे बिल्कुल सही बाटोमा छ। 

हामीले भनेका थियौँ- एक रुपैयाँ भ्रष्टाचार गर्दैनौँ। सुशासन कायम गर्छौँ। अनावश्यक कर्मचारीहरूलाई कटाउँछौँ। मन्त्रालयको संख्या घटाउँछौँ। मन्त्रालयको संख्या नै घटाइरहेका छौँ। 

मन्त्रालयको संख्या घटाउनुभयो। तर ३९ जनाको चाहिँ सचिवालय बन्दो रहेछ अहिले?

अब त्यो तथ्यांक हजुरले कहाँबाट लिनुभयो? त्यो अलि असत्य हो कि जस्तो लाग्छ मलाई।

प्रधानमन्त्रीको सचिवालयमै २७ जना हुनुहुन्छ?

हजुर। 

गृहमन्त्रीको छानबिनका लागि जुन छानबिन समिति बनेको थियो, त्यो छानबिन समितिले बनाएको प्रतिवेदन तपाईंले पढ्न पाउनुभयो?

यस्तो छ, पहिलो कुरो के हो भने उहाँमाथि एउटा झुटो आरोप लगायो कसैले।

प्रतिवेदन पढ्न पाउनुभयो, मैले सोधेको प्रश्न त्यो हो?

आरोप लगाइसकेपछि उहाँले के गर्नुभयो भने इमान्दारिता देखाएर ‘ममाथि छानबिन हुनुपर्छ, तुरुन्त छानबिन समिति बनोस्’ भनेर आफूमाथि एउटा प्रश्न आउनेबित्तिकै उहाँले राजीनामा दिनुभयो।

राजीनामा दिइसकेपछि त्यसको प्रतिवेदन आयो। छानबिन समितिकाे प्रतिवेदन प्रधानमन्त्रीज्यूले हेर्दा यो वास्तवमा झुटो हो भन्ने कुरा भइसकेपछि उहाँले फेरि पुनर्बहाली गर्नुभयो।

प्रतिवेदन मैले र तपाईंले पढ्न पाइन्‍छ कि पाइदैँन?

पाइन्छ।

खोइ त?

चाँडै हुन्छ।

चाँडै भन्या कति समय?

सार्वजनिक व्यक्तिको विषयमा सबैले त्यो प्रतिवेदन हेर्न पाउनुपर्छ भन्ने कुरा जायज हो। यो विषयमा छलफल भइरहेको छ। सबैले थाहा पाउने गरी प्रतिवेदन सार्वजनिक हुन्छ।

नियुक्तिहरूमा पनि त्यस्तै विवाद देखियो। विधि मिच्ने, पद्दती नमान्ने, आफ्नो निकटको मान्छे खोजी-खोजी ल्याउने किसिमका भए कि भएनन्?

हामीले राम्रो गर्न खोजेका थुप्रै पाटोहरू छन्। मनमा केही खोट नराखीकन राम्रोको र सदाचारको लागि सरकारले गर्न खोजेका कामहरू धेरै छन्। अघि भनेजस्तै कही कतै कमजोरी भएछ र त्यस्तो परि आएछ भने सल्लाह लिएर काम गर्छौँ।  मैले त ठ्याक्कै भेट्टाएको छैन। 

कमजोरी भेटाउनुभएको छैन?

मैले ठ्याक्कै देखेको छैन। तपाईंहरूले यसरी औँल्याइदिनुभयो भने कहाँ-कहाँ कमी-कमजोरी छ, त्यसलाई हामी सुधारेर जान्छौँ।

पार्टीभित्रबाटै प्रधानमन्त्री अहिले घेराउमा त परिराख्नुभएको छैन?

त्यस्तो केही हैन। सम्माननीय प्रधानमन्त्रीज्यू र पार्टी सभापति रवि लामिछानेज्यूको सम्बन्ध यति राम्रो छ, यति प्रगाढ छ। पार्टी फुटो, फुटो, फुट्यो भनेर मान्छेहरूले के लगाइदिन्छन् क्या अफवाह? 

हाम्रो देशमा अभ्यास नभएको कुरा पार्टीको सभापति पनि एउटा, पार्टीको अध्यक्ष पनि एउटा र प्रधानमन्त्री पनि उही भएको हेर्ने बानी गरेका थियौँ।

अहिले हामीले नयाँ अभ्यास गर्दैछौँ। सरकार एकजनाले सञ्चालन गर्ने, पार्टी एकजनाले सञ्चालन गर्ने।यसरी कार्यालय पनि दुइवटा हुने भयो। एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय। यतापट्टि सम्माननीय प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा। दुईवटा।  अलग-अलग। यसले गर्दा ‘फुटे कि क्या हो?’ भन्ने हल्ला चलेको छ। त्यो होइन।

नेपालले भारतको जग्गा मिचेको छ कि छैन?

नेपालले भारतको जग्गा मिचेको छैन।

किन प्रधानमन्त्रीले त्यसो भन्नुभएको?

हजुरले राम्रोसँग सुन्नुभएन जस्तो लाग्यो।

‘नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको रहेछ, मैले प्रधानमन्त्री बनेपछि थाहा पाएँ’ भन्नुभयो उहाँले?

त्यसो पनि हैन। उहाँले भन्न खोज्नुभएको विषय भारतले जग्गा मिच्यो-मिच्यो भनेर हामीले भनिरहेको तर इन्डियाको पनि दाबी रहेछ, नेपालले पनि अलिअलि कहीँकहीँ ठाउँमा। 

दाबी छैन। इन्डियाले अहिलेसम्म नेपालले मिचेको छ भनेर दाबी गरेको छैन नि?

यहाँनिरी के बुझ्नुपर्यो भने डिप्लोमेटिक कुराहरु कतिपय बाहिर आउँछन्, कतिपय कुरा आउँदैनन्। हामी कसैको एक इन्च जग्गा मिच्दैनौँ र हाम्रो मिच्न दिन्नौँ। र हामी दुई पक्ष छिमेकीहरूसँगको जुनसुकै होस्, जोसुकै होस्, उहाँहरूसँग पञ्चशीलको आधारमा जो सम्बन्ध छ हाम्रो, त्यो प्रकट बनाएर लान्छौँ।

भनेको प्रधानमन्त्रीको त्यो अभिव्यक्ति सही थियो?

प्रधानमन्त्रीज्यूले भन्न खोज्नुभएको कुरा के हो भने इन्डियाले विभिन्न ठाउँमा हाम्रो जग्गाहरू मिचेको छ।

त्यो फिर्ता ल्याउनुहुन्छ?

अँ।

फिर्ता ल्याउनुहुन्छ तपाईंहरू। तर लिपुलेक, लिम्पियाधुरा र कालापानीमा व्यापार सुरु हुँदा चाहिँ बोल्नुहुन्न। अहिले व्यापार सुरु भएको सात दिन भयो। खोइ, तपाईंहरूले बोल्नुभएको? 

हामीले भन्न नसकेको हैन। बारम्बार भनेका छौँ, धेरैचोटि भनेका छौँ। यहाँले सुन्नुभएन कि जस्तो लाग्यो। 

दुवै देशको यो कूटनीतिक सम्बन्धका कुराहरू रहे। त्यसलाई बसेर सीमा सम्बन्ध, सीमा विवादबारे दुवै पक्ष बसेर छलफल गर्ने र टुङ्ग्याउने आवश्यक पर्यो। तत्कालीन ब्रिटिस सरकारसँग त्यसको ओरिजिनल म्यापहरू पनि छ, ओरिजिनल सन्धिहरू पनि छ। ती जे-जे छन्, त्यसलाई मगाएर बस्नु पर्यो भने एउटा सहयोगको रूपमा उहाँ पनि आउन सक्नुहुन्छ। 

तर हाम्रो दुईवटा देशबीचको सीमा वा अन्य कुराहरू छन्, सुरक्षाका कुराहरू, अन्य थुप्रै चिजहरू छन्। 

प्रधानमन्त्रीको त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्छ कि राख्नुपर्छ?

तपाईं त्यहाँ आउँदै हुनुहुन्छ।

राख्नुपर्छ कि हटाउनुपर्छ? 

सम्माननीय प्रधानमन्त्रीज्यूले भनेको कुन हिसाबले भन्नुभयो भन्ने कुरा मैले अघि यहाँलाई निवेदन गरेँ।

सुकुमबासीहरूलाई त्यसरी किन लखेट्नुभएको? 

लखेटेको हैन, व्यवस्थापन गरेको।

ए, व्यवस्थापन गरेको?

हजुर।

सुकुमबासी बस्ती डुबानमा पर्छ भनेर व्यवस्थापन गर्ने उठीबास लगाइयो। सेनाको गोली देखाएर, बन्दुक देखाएर कीर्तिपुरमा पुर्याइयो। उल्टै किर्तिपुर डुबानमा पर्यो ? यस्तो बिचल्लीमा पार्न पाइन्छ?

नेपालको संविधानले नै उल्लेख गरेको छ – हरेक नागरिकसँग पुर्जा हुनुपर्छ। सरकारको सम्पत्ति अतिक्रमण गर्न पाउँदैन। स्वास्थ्य, शिक्षा लगायतका कुराहरू नेपालको संविधानले प्रत्याभूति गरेको कुरा हो। 

अब लालपुर्जा दिँदै छौँ त। हामीले प्रत्येक नागरिकलाई लालपुर्जा दिइरहेका छौँ।आवास नहुनेलाई आवास पनि दिने भन्या छ।

तपाईंहरूले खेद्न चाहिँ काठमाडौंका मान्छेलाई खेद्नु भयो। लालपुर्जा चाहिँ झापाका मान्छेलाई दिएर हुन्छ?

जो मान्छे जहाँको हो, त्यहिँ लालपुर्जा पाउछ। काठमाडौंको हो भने काठमाडौंमै पुर्जा पाउँछन्।

खोइ त पाएको?

पाउँछन्।

विस्थापित भएकाहरूको चाहिँ व्यवस्थापन कहिलेसम्म हुन्छ?

हुन्छ, भइरहेको छ। कोही छुट्नुभएको छ भन्ने त्यस्तो तपाईंहरूले नाम दिनुहोला। त्यसको सूचना सङ्कलन भइरहेको छ। वडाबाट, पालिकाबाट त्यसको विवरणहरू, लगतहरू लिइरहेका छौँ। कोही छुटेको छ, त्यस्तो छ भने हामी समावेश गर्छौँ र सबैभन्दा बढी ठूलो आवाजमा मै बोल्छु सदनमा। त्यस्तो छ भने तपाईंहरूले संकेत गर्नुहोला।

दीर्घकालीन रूपमा भूमिसम्बन्धित सबै समस्याहरूलाई डिजिटलाइज गर्नुपर्छ। आफ्नो जमिन बेच्न वा किन्नको लागि हैन, किनबेच गर्नको लागि एक दिन धाउनुपर्ने, दुई दिन जानुपर्ने, टाढा जानुपर्ने समस्यालाई पनि हामीले कम गर्नको लागि स्थानीय निकायबाटै, सम्बन्धित स्थानीय निकायमा नै हामीले भूमि प्रशासनको कामहरू गर्ने गरी तयारी गरेका छौँ। 

२३ र २४ भदौमा जेनजी विद्रोह भयो। त्यही विद्रोहको बलमा तपाईँहरूले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा १८२ सिट पाउनुभयो। तपाईँहरूले वाचापत्र तयार गर्नुभयो। त्यसपछि सरकार गठन हुनेबित्तिकै सयबुँदे कार्यसूची निकालेको छ। त्यो सबै कुराहरूअनुसार यो सरकारले काम गरिरहेको छ?

नेपाली जनताले देशलाई राष्ट्रिय स्वतन्त्र पार्टीको हातमा सुम्पिनुभएको छ। यो त्यसैमा आधारित सबैको आशा र भरोसा भएको सरकार हो। जेनजी आन्दोलनमा त्यति धेरै संरचनागत रूपमा क्षति भए। अड्डा अदालतदेखि लिएर सारा निकै कुराहरू क्षति भएको छ। फेरि पनि ती सबै कुराहरूलाई हामीले रिभाइभ गर्नुपर्ने छ।

त्यो आन्दोलनमा त्यति धेरै ठूलो मानवीय क्षति पनि भएको छ। मानवीय क्षति भएका, घाइते भएका थुप्रै जना हुनुहुन्छ। कति जना अहिले जेल जीवन पनि बिताइराख्नुभएको परिस्थिति छ। त्यसकारणले गर्दा यो सन्दर्भमा यो विषयमा अत्यन्तै हामी संवेदनशील भएर बोल्नु हुनुपर्ने छ र उहाँहरूले दिएका मार्गनिर्देशनहरू, जो-जो त्यो घटनामा सहिद हुनुभयो, जेनजी आन्दोलनमा सहिद हुनुभयो, उहाँहरूले देखेका सपनाहरूलाई पनि हामीले पूरा गर्नुपर्ने छ।

सरकार गठन भएको जम्मा चार महिना भएको छ। ३५ वर्षदेखि थिल्थिलो भएको अर्थतन्त्रलाई टेको, भरोसा दिनुपर्ने छ। स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या देखिन्छन् र त्यसलाई पनि हामीले म्यानेज गर्नुपर्ने स्थिति छ।

ती सबै कुराहरूलाई ओभरअल म्यानेज गरेर जानुपर्ने छ र जनताले त्यति ठूलो म्यान्डेट हामीलाई दिनुभएको छ। त्यसैअनुसार जेनजी आन्दोलनमा ती महान् सहिदहरूले देखेका सपना, घाइतेहरूले देखेका सपना, घाइते परिवारले देखेका सपना सबैलाई पूरा गर्ने लक्ष्यमा, त्यो उद्देश्यका साथ सरकार अगाडि बढिरहेको छ। 

यो पाँच वर्षको लागि म्यान्डेट लिएर आएको सरकार हो। पाँच वर्षमा एउटा बाटो, एउटा दिशा, एउटा गोरेटो हामीले देखाउन सकेनौँ भने जनतामाझ भोट माग्न जाँदैनौँ। त्यसकारणले हामी निकै मार्मिक ढंगमा यसलाई सोचेका छौँ र यसलाई आम नागरिकले देखेका सबै सपनालाई हल गर्ने दिशामा हामी अगाडि बढ्छौँ।

 

२९ वर्षपछि पनि गुञ्जिँदैछन्, ‘शाहंशाह-ए-क़व्वाली’

आज १६ अगस्ट। 

संगीतप्रेमीका लागि यो दिन निकै विशेष छ।

आजकै दिन सन् १९९७ मा ४८ वर्षको उमेरमा त्यो अद्भुत आवाजको भौतिक उपस्थिति यो संसारबाट बिदा भएको थियो। एक सांगीतिक यात्रा रोकिएको २९ वर्ष बितिसकेको छ। 

दक्षिण एसियाली संगीतमा केही नाम यस्ता छन्, जसलाई गायक भनेर चिनाउनु उनीहरूको योगदानलाई सानो बनाउनुजस्तै हुन्छ। यस्तो लाग्छ, उनीहरू गाउनकै लागि जन्मिएका हुन्। 

त्यस्तै महान व्यक्तित्व मध्येका एक थिए ‘नुसरत फतेह अली खान’। 

पाकिस्तानी क़व्वाली गायक खान, संगीतकार तथा विश्वसंगीतका प्रभावशाली कलाकार थिए। उनलाई प्रायः ‘शाहंशाह-ए-क़व्वाली’ अर्थात् क़व्वालीका सम्राट भनेर चिनिन्छ।  

‘सूफी संगीतको भाव, आध्यात्मिकता र प्रेमलाई आफ्नो असाधारण स्वरमार्फत संसारभर पुर्‍याउने कलाकार थिए।’ उनलाई यसरी पनि सम्बोधन गर्न सकिन्छ।

उनलाई ‘मास्टर अफ क़व्वाली’, ‘लेजेन्ड अफ सूफी म्युजिक’ तथा ‘आवाजका जादुगर’ जस्ता उपाधिले समेत सम्बोधन गरिन्छ। 

दक्षिण एसियामा उनी विशेषगरी क़व्वालीलाई नयाँ उचाइमा पुर्‍याउने महान् साधकका रूपमा सम्मानित छन् भने पश्चिमी संगीत संसारमा उनलाई विश्व संगीतका सबैभन्दा प्रभावशाली आवाजमध्ये एक मानिन्छ। 

उनको स्वरमा एउटा यस्तो शक्ति थियो, जसले सुन्नेलाई केवल गीत सुनाउँदैनथ्यो, भावनाभित्रै पुर्‍याउँथ्यो। उनी कहिले प्रेमीको विरह बनेर गाउँथे, कहिले ईश्वरको खोजमा निस्किएको भक्त बनेर, कहिले प्रेममा डुबेको मानिसको बेचैनी बनेर। हार्मोनियम, तबला र तालीसँगै जब उनको स्वर उठ्थ्यो, कव्वाली एउटा गीतबाट विस्तारै सामूहिक आध्यात्मिक अनुभूतिमा बदलिन्थ्यो।

आज उनको निधन भएको २९ वर्ष पूरा भएको छ। सन् १९९७ अगस्ट १६ मा ४८ वर्षको उमेरमा नुसरत फतेह अली खानले संसार छाडे। जीवन छोटो रह्यो, तर उनले छाडेको सांगीतिक प्रभाव असाधारण रूपमा लामो रह्यो। उनको मृत्युको २९ वर्षपछि पनि उनका गीतहरू नयाँ पुस्ताले सुनिरहेको छ, उनका कव्वाली नयाँ कलाकारले गाइरहेका छन् र उनको स्वरले अझै पनि लाखौँ श्रोताको मन छोइरहेको छ।

नुसरत फतेह अली खान पाकिस्तानको फैसलाबादमा जन्मिएका थिए। उनी कव्वालीको लामो र समृद्ध पारिवारिक परम्पराबाट आएका थिए। उनका पुर्खाहरूले पुस्तौँदेखि कव्वाली र शास्त्रीय संगीतको साधना गर्दै आएका थिए।

तर नुसरत केवल परम्पराका उत्तराधिकारी भएर बसेनन्। उनले त्यो परम्परालाई आफ्नै शैली, असाधारण स्वर क्षमता र प्रयोगशीलताबाट नयाँ उचाइ दिए।

उनको गायनमा परम्परागत कव्वालीका सबै आधार थिए – हार्मोनियम, तबला, ढोलक, सामूहिक ताली र दोहोरिने पंक्ति। तर त्यसमा उनले लामो आलाप, तीव्र तान, स्वरको आरोह-अवरोह र भावनात्मक उतारचढाव थपे।

त्यसैले उनको कव्वाली सुन्दा सुरु भएको केही क्षणमै श्रोता अर्को संसारमा पुगेजस्तो अनुभव गर्थे।

नुसरतको गायनमा ईश्वरप्रतिको समर्पण निकै गहिरो थियो। उनको चर्चित कव्वाली ‘अल्लाहु’ यसको राम्रो उदाहरण हो। जब गुञ्जिन्थ्यो-

‘अल्लाहु अल्लाहु, अल्लाहु अल्लाहु,
अल्लाहु अल्लाहु, अल्लाहु अल्लाहु…

शब्द थोरै छन्, तर नुसरतको प्रस्तुतिमा यसको प्रभाव असाधारण हुन्छ। एउटै शब्दलाई स्वरको आरोह-अवरोहसँग पटकपटक दोहोर्‍याउँदै उनी गीतलाई एउटा आध्यात्मिक यात्रामा बदलिदिन्छन्।

उनको आवाज बिस्तारै माथि चढ्दै जाँदा श्रोतालाई लाग्छ, कव्वाली नभई कुनै प्रार्थना चलिरहेको छ।

नुसरत साहबको संगीतमा अध्यात्म मात्र थिएन। प्रेम, आकर्षण र विरह पनि त्यत्तिकै गहिरो रुपमा प्रस्तुत हुन्थ्यो । जस्तै- 

‘मेरे रश्क-ए-कमर, तूने पहली नज़र,
जब नज़र से मिलाई मज़ा आ गया।
बरक़ सी गिर गई, काम ही कर गई,
आग ऐसी लगाई मज़ा आ गया।’

यी पंक्तिमा पहिलो नजरको प्रेमले ल्याउने मोह र उत्साह छ। खान साहबले यसलाई आफ्नो स्वरमा प्रस्तुत गर्दा यी शब्दहरू प्रेमको वर्णनमा मात्र सिमित रहँदैनन्,आफैमा इश्वरीय हुन जान्छन्। 

उनको गायनको यही विशेषता थियो उनी शब्दलाई महसुस गर्थे अनि महसुस गराउन सक्थे। 

प्रेमको अर्को पक्ष हो – पीडा। नुसरतले प्रेमको खुसीसँगै त्यसको चोट पनि उत्तिकै गहिरो स्वरमा गाए।

‘तुम्हें दिल्लगी भूल जानी पड़ेगी’ आज पनि उनका सबैभन्दा चर्चित रचनामध्ये एक हो।

‘तुम्हें दिल्लगी भूल जानी पड़ेगी,
मोहब्बत की राहों में आकर तो देखो।
बदलने पे मजबूर हो जाओगे तुम,
मोहब्बत की राहों में आकर तो देखो।’

प्रेमलाई बाहिरबाट हेर्ने मानिसलाई प्रेमको वास्तविक संसारमा प्रवेश गर्न दिइएको निम्तो पनि छ, चेतावनी पनि छ। यो दुवैको समिश्रण उनको आवाज र अन्दाजमा सजिँदा झन् बेमिसाल बन्थ्यो।

खान साहबको स्वरमा यो गीत सुन्दा प्रेम रोमान्स मात्र नभई, मानिसलाई बदलिदिने अनुभव हो भन्ने अनुभूति हुन्छ।

पञ्जाबी भाषामा गाइएका नुसरतका गीतहरू पनि उत्तिकै लोकप्रिय छन्। ‘सानु एक पल चैन न आवे’ विरह र बेचैनीको शक्तिशाली अभिव्यक्ति हो।

‘सानु एक पल चैन न आवे,
सजना तेरे बिना।
दिल मेरा घबरावे,
सजना तेरे बिना।’

प्रिय मानिसको अनुपस्थितिमा एक पल पनि चैन नपाउने मनको अवस्था यसमा छ। नुसरतले यसलाई यति मार्मिक ढंगले प्रस्तुत गरेका छन् कि भाषा नबुझ्ने श्रोताले पनि गीतको पीडा महसुस गर्न सक्छ।

यही उनको महानता थियो उनको स्वरले भाषाको सीमा पार गर्थ्यो। र त्यो अनुभव गराउँथ्यो जुन इश्वरीय हुन्थ्यो।

सूफी संगीतको सबैभन्दा लोकप्रिय रचनामध्ये एक हो ‘दमादम मस्त कलन्दर’।

‘दमादम मस्त कलन्दर’ नुसरतको प्रस्तुतिमा झन् –

दमादम मस्त कलन्दर,
अली दा पहला नम्बर।
झूलेलाल कलन्दर,
दमा दम दे अंदर।’

तालीको गति बढ्दै जान्छ, सामूहिक स्वर जोडिन्छ र नुसरतको आवाज क्रमशः उचाइतर्फ पुग्छ। त्यसपछि महफिलमा गायक र श्रोताबीचको दूरी हराउँछ।

सबैजना एउटै लयमा मिसिन्छन्। यही थियो खान साहबको कव्वालीको जादु।

उनको संगीतमा भक्ति थियो, तर प्रश्न पनि थियो। ‘तुम एक गोरख धंधा हो’ मा उनले मानिसको आध्यात्मिक अन्योल र ईश्वरलाई बुझ्न खोज्ने प्रयासलाई प्रस्तुत गरेका छन्।

‘तुम एक गोरख धंधा हो,
तुम एक गोरख धंधा हो।
समझ में नहीं आता,
तुम क्या हो, कहाँ हो।’

यसमा ईश्वरलाई बुझ्न खोजिरहेको मानिसको जिज्ञासा र असमर्थता देखिन्छ। नुसरतको आवाजमा आउँदा त्यो प्रश्न अझ गहिरो हुन्छ।

नुसरतले कव्वालीलाई आफ्नो पुर्खाको परम्पराबाट उठाएर अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याए।

पश्चिमी संगीतकारहरूसँग सहकार्य गरे, विश्व संगीतका परियोजनामा सहभागी भए र उनको आवाज दक्षिण एसियाबाहिरका श्रोतासम्म पुग्यो।

पीटर ग्याब्रियललगायत अन्तर्राष्ट्रिय कलाकारसँगको सहकार्यले उनको संगीतलाई नयाँ संसारसँग जोड्यो। तर विश्वव्यापी लोकप्रियताबीच पनि उनले आफ्नो मूल पहिचानकव्वाली र सूफी संगीतलाई कहिल्यै छाडेनन्।

सन् १९९७ अगस्ट १६ मा नुसरत फतेह अली खानको निधन भयो। उनी केवल ४८ वर्षका थिए।

उनको मृत्यु संगीतका लागि ठूलो क्षति थियो। एउटा यस्तो स्वर रोकियो, जसले हजारौँ वर्ष पुरानो सूफी परम्परालाई आधुनिक संसारका करोडौँ मानिससम्म पुर्‍याइरहेको थियो।

तर उनको यात्रा साँच्चिकै रोकिएन।

आज पनि कुनै-कतै एकान्त रातमा ‘तुम्हें दिल्लगी’ बज्छ। कुनै महफिलमा ‘दमादम मस्त कलन्दर’ गुञ्जिन्छ। कसैले विरहमा ‘सानु एक पल चैन न आवे’ सुन्छ। मस्जिदहरूमा अझै ‘अल्लाहु’ सुनिन्छ। 

२९ वर्षपछि पनि नुसरत साहबको आवाज उस्तै सुनिन्छ-

‘अल्लाहु अल्लाहु…’

कहिले प्रार्थना बनेर,कहिले प्रेम बनेर, कहिले विरह बनेर,र कहिले आत्मालाप बनेर, नुसरत फतेह अलि खान उर्फ ‘शाहंशाह-ए-क़व्वाली’को आवाज अझै गुञ्जिरहेको छ।

सत्ताभन्दा त्याग र नैतिकता ठूलो हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता हासिल गरेको भन्नु पद वा सत्तामा पुग्नुसँग मात्र जोड्न नहुने बताएका छन्।

उनले राजनीतिक जीवनको वास्तविक मूल्यांकन व्यक्तिको नैतिक बल, विचार र समाज तथा राष्ट्रप्रतिको योगदानबाट हुनुपर्ने धारणा राखेका छन्।

आइतबार धर्म गौतमद्वारा लिखित ‘बीपी र विद्रोहका ती दिन’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले कांग्रेसलाई राष्ट्रिय शक्ति बनाउन पार्टीभित्र त्याग, संघर्ष र नैतिक मूल्यलाई सम्मान गर्नुपर्ने बताए।

उनका अनुसार राजनीतिमा कसले कति समय सत्ता सम्हाल्यो वा कुन पदमा पुग्यो भन्ने मात्र सफलताको आधार हुन सक्दैन।

राजनीतिक यात्रामा उच्च नैतिकता कायम राख्ने व्यक्तिको योगदान पदमा पुगेका व्यक्तिभन्दा महत्वपूर्ण हुन सक्ने उनको भनाइ थियो।

थापाले भने, ‘सफलताको मानक कसले कति सत्ता पायो भन्ने मात्र होइन। लेखक धर्म गौतमको राजनीतिक जीवन यस अर्थमा सफल छ कि उहाँसँग उच्च नैतिक बल छ, जुन पदमा बस्नेहरूसँग नहुन सक्छ।’

थापाले २०३३ सालमा बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई तत्कालीन राजनीतिक परिस्थितिमा अपनाइएको रणनीतिका रूपमा मात्र बुझ्न नहुने बताए। उक्त नीति निश्चित मूल्य, मान्यता र राष्ट्रिय आवश्यकताबाट निर्देशित रहेको उनको भनाइ थियो।

बीपीका लागि लोकतन्त्र कुनै एउटा देश वा परिस्थितिमा मात्र लागू हुने विषय नभएको थापाले उल्लेख गरे। लोकतन्त्रलाई सार्वभौमिक मूल्यका रूपमा हेर्ने बीपीको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक रहेको उनले बताए।

भारतमा संकटकाल लागू हुँदा बीपी कोइरालाले त्यसको विरोध गरेको प्रसंग उल्लेख गर्दै थापाले लोकतान्त्रिक अधिकारप्रतिको उनको प्रतिबद्धता देशको सीमाभन्दा माथि रहेको बताए।

‘बीपीका लागि लोकतन्त्र युनिभर्सल थियो। भारतमा सङ्कटकाल लाग्दा बीपीले त्यसको विरोध गर्नुभयो किनकि उहाँका लागि लोकतन्त्र जहाँ पनि उत्तिकै महत्त्वपूर्ण थियो,’ थापाले भने।

उनले वर्तमान कांग्रेसले पनि बीपीको यही राजनीतिक दृष्टिकोणबाट प्रेरणा लिएर अघि बढ्नुपर्ने बताए। नागरिकका अधिकार, लोकतान्त्रिक मूल्य र राष्ट्रियतालाई केन्द्रमा राखेर पार्टीले आफ्नो राजनीतिक भूमिका प्रभावकारी बनाउनुपर्ने उनको धारणा थियो।

थापाले कांग्रेसलाई बलियो राष्ट्रिय शक्ति बनाउन निर्वाचनमा सफलता हासिल गर्नु पर्याप्त नहुने पनि संकेत गरे।

त्यसका लागि पार्टीभित्र विचार, नैतिकता, त्याग र लोकतान्त्रिक संस्कारलाई प्राथमिकता दिनुपर्ने उनको जोड थियो।

‘हिन्दु’ले देउवापक्षीय कांग्रेसमा लफडा, निधि-महतबीच कागज खोसाखोस

काठमाडौं। ‘हिन्दु’ शब्दकै कारण कांग्रेसको देउवापक्षीय भेलामा नेता विमलेन्द्र निधि र डा. प्रकाशशरण महतबीच लफडा भएको खुलेको छ । लफडा यतिसम्म भयो कि दुई नेताबीच कागज खोसाखोस नै भयो ।

हिन्दुवादी र राजसंस्थापक्षधर कांग्रेस नेता शंकर भण्डारीले देउवालाई ‘म हिन्दु हुँ’ भन्न लगाएका थिए । देउवाले त्यसो भनेपछि भेलाबाट जारी गर्ने पाँच बुँदे घोषणापत्रमा नेपाल सनातन हिन्दु राष्ट्र भन्ने शब्द घुसाउन देउवानिकट नेता डा. प्रकाशशरण महतले खोजेका थिए ।

त्यहीबेला नेता विमलेन्द्र निधिले ‘हिन्दु’ शब्द नघुसाउनु भन्दै महतको हातमा रहेको कागज खोसेका हुन् । निधिले कांग्रेसकै सरकार हुँदा जारी भएको नेपालको संविधान २०७२ मा नेपाल धर्मनिरपेक्ष राष्ट्र उल्लेख रहेको तर्क गर्दै कांग्रेस पछाडि फर्किन नमिल्ने बताएका थिए ।

यो घटनाले देउवापक्षीय कांग्रेसमा धर्मको सवालमा मतभेद देखिएको छ ।

‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ?’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनविपरीत हुने गतिविधि स्वीकार्य नहुने बताएका छन्।

उनले नेतृत्व परिवर्तनका लागि सामाजिक सञ्जालमा अभियान चलाउने वा हस्ताक्षर संकलन गर्ने शैलीप्रति असन्तुष्टि जनाएका छन्।

झापा एमालेले बिर्तामोडबाट सुरु गरेको ‘मिसन जागरण’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी गतिविधि भइरहेकोतर्फ संकेत गर्दै यस्तो धारणा राखेका हुन्।

सामाजिक सञ्जालमा स्टाटस लेखेर वा हस्ताक्षर अभियान सञ्चालन गरेर पार्टी अध्यक्ष हटाउने प्रयास गर्नु संगठनात्मक विधि नभएको ओलीको भनाइ थियो।

उनले भने, ‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन।’

ओलीले आफूलाई अध्यक्ष पदबाट हटाउनुपर्ने धारणा कसैको भए पार्टीको औपचारिक कमिटीमा विषय राख्न सकिने बताए। पार्टीभित्र असहमति भए त्यसलाई संस्थागत प्रक्रियामार्फत छलफल र निर्णयमा लैजानुपर्ने उनको भनाइ थियो।

उनले नेतृत्वप्रति असन्तुष्टि भए सामाजिक सञ्जाल वा अनौपचारिक अभियान सञ्चालन गर्नुको सट्टा सम्बन्धित पार्टी कमिटीमा आफ्नो धारणा राख्न नेताकार्यकर्तालाई सुझाव दिए।

ओलीको अभिव्यक्ति एमालेभित्र नेतृत्व र संगठन सञ्चालनको विषयलाई लिएर विभिन्न तहमा बहस भइरहेका बेला आएको हो। उनले पार्टीलाई विधि, अनुशासन र संस्थागत प्रक्रियाअनुसार अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

बंगाली सिनेमाका चर्चित निर्देशक ‘राजा सेन’ रहेनन्

काठमाडौं। राष्ट्रिय फिल्म पुरस्कार विजेता तथा चर्चित बंगाली फिल्म निर्देशक राजा सेनको आइतबार कोलकाताको एक सरकारी अस्पतालमा निधन भएको छ।

लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका सेनको ७१ वर्षको उमेरमा निधन भएको हो।

अस्पताल स्रोतका अनुसार सेन पछिल्ला केही दिनदेखि भेन्टिलेटरमा उपचाररत थिए। उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि चिकित्सकहरूले निरन्तर उपचार गरिरहेका थिए। शरीरका महत्वपूर्ण अंगहरूको कार्यक्षमतामा समेत समस्या देखिएपछि उपचारका क्रममा उनको निधन भएको जनाइएको छ।

केही समयअघि ढाडको तल्लो भागमा चोट लागेपछि सेनलाई सुरुमा निजी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि फोक्सो र मुटुसम्बन्धी समस्या देखिएको थियो। अवस्था गम्भीर बनेपछि उनलाई कोलकातास्थित एसएसकेएम अस्पतालमा सारिएको थियो। त्यहाँ उपचारका क्रममा मिर्गौलामा समेत समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ।

सेनको निधनको खबरसँगै बंगाली फिल्म, टेलिभिजन र वृत्तचित्र क्षेत्रमा शोक छाएको छ। लामो समयसम्म बंगाली सांस्कृतिक क्षेत्रमा सक्रिय रहेका सेनले फिल्म निर्देशनसँगै टेलिभिजन र वृत्तचित्र निर्माणमा समेत आफ्नो छुट्टै पहिचान बनाएका थिए।

राजा सेनले सन् १९९६ मा ‘दामु’ फिल्ममार्फत फिचर फिल्म निर्देशनमा डेब्यु गरेका थिए। उनको पहिलो फिल्मले नै उत्कृष्ट बाल चलचित्र विधामा राष्ट्रिय फिल्म पुरस्कार जितेको थियो।

‘दामु’ले सेनलाई बंगाली फिल्म क्षेत्रमा स्थापित निर्देशकका रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको थियो। त्यसपछि उनले विभिन्न विषय र कथावस्तुमा आधारित फिल्म निर्माण तथा निर्देशन गर्दै आफ्नो करिअर अघि बढाएका थिए।

उनका चर्चित फिल्ममा ‘आत्मीयो स्वजन’, ‘देश’, ‘देबीपक्ष’, ‘कृष्णकान्तेर विल’, ‘ल्याबोरेटरी’ र ‘माया मृदंग’ लगायत पर्छन्।

सन् २००२ मा ‘देश’ फिल्म निर्देशन गरेका सेनले यसमा जया बच्चन र अभिषेक बच्चनलाई मुख्य भूमिकामा प्रस्तुत गरेका थिए। बंगाली साहित्य र सामाजिक विषयलाई पर्दामा उतार्ने उनको शैलीले उनलाई अन्य निर्देशकभन्दा फरक पहिचान दिएको थियो।

फिल्मबाहेक सेन टेलिभिजनमा पनि सक्रिय थिए। उनले विभिन्न चर्चित धारावाहिक निर्देशन गर्नुका साथै बंगाली संस्कृति र साहित्यसँग जोडिएका विषयमा वृत्तचित्र निर्माण गरेका थिए।

उनले रवीन्द्र संगीतकी चर्चित गायिका सुचित्रा मित्र लगायत बंगाली कला तथा संस्कृतिका विभिन्न व्यक्तित्वमाथि वृत्तचित्रसमेत बनाएका थिए।

राजा सेनको करिअर केवल फिल्म निर्देशनमा सीमित थिएन। बंगाली साहित्य, संगीत, संस्कृति र सामाजिक विषयलाई दृश्य माध्यममार्फत प्रस्तुत गर्ने उनको योगदान महत्वपूर्ण मानिन्छ।

पहिलो फिल्मबाटै राष्ट्रिय पुरस्कार प्राप्त गरेका सेनले दशकौं लामो यात्रामा बंगाली फिल्म, टेलिभिजन र वृत्तचित्र क्षेत्रमा निरन्तर काम गरे। उनको निधनले बंगाली कला र सिनेमाको क्षेत्रमा एउटा अनुभवी र सिर्जनशील व्यक्तित्व गुमेको छ।

सेनको निधनप्रति बंगाली फिल्म तथा सांस्कृतिक क्षेत्रका कलाकार, निर्देशक र विभिन्न व्यक्तित्वहरूले दुःख व्यक्त गर्दै उनको योगदानको स्मरण गरेका छन्।

बदलिएको सुनिए देउवा, राजसंस्था र हिन्दुराष्ट्रतिर झुकाव

२८ साउनमा हङकङदेखि आएका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा दुईवटा सवालमा मुखर बने । पहिलो, संवैधानिक राजसंस्था । दोस्रो, हिन्दु धर्म।

कांग्रेसको राजनीतिक दस्तावेजले यी दुवै एजेन्डा खारेज गरेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र तथा धर्मनिरपेक्षतालाई स्वीकार गरेको छ । तर, देउवाको झुकाव संवैधानिक राजसंस्था र हिन्दु धर्मतिर बढ्दै गएको अड्कल हुन थालेको छ । उनले यही २९ साउनमा इतिहास भइसकेको राजसंस्थाबारे भने – ‘मैले संवैधानिक राजसंस्था मानेकै थिएँ ।’

तत्कालीन राजा ज्ञानेन्द्रमा सत्ताको अतिशय मोह नजागेको भए उक्त व्यवस्था कायमै रहने उनको आशय देखिन्छ । देउवा ती नेता हुन्, जसलाई पक्राउ गरेर जेल पुर्‍याउने पनि ज्ञानेन्द्र नै हुन् । जतिबेला देउवा जेल परे, हालै दिवंगत भएका नेता गोपालमान श्रेष्ठले पार्टीको कमाण्ड सम्हालेका थिए । देउवा, श्रेष्ठलगायत नेताहरू त्यसबेला कांग्रेस प्रजातान्त्रिकमा थिए ।

ज्ञानेन्द्र शाहले झण्डै १८ महिना शासनसत्ता हातमा लिए । उनी आफ्ना बुबा महेन्द्रको बाटोमा हिँडे । त्यतिबेला तत्कालीन विद्रोही नेकपा माओवादी सशस्त्र युद्धमा थियो भने सात राजनीतिक दल शान्तिपूर्ण आन्दोलनमा थिए । तर, ज्ञानेन्द्रले बल प्रयोग गर्न थालेपछि सात राजनीतिक दल र माओवादीबीच सहकार्य भयो । अन्ततः १९ दिने दोस्रो जनआन्दोलनले राजतन्त्रको जरो उखेल्यो ।

२०४७ सालको संविधानबाट हिन्दु राज्य बनेको नेपाल धर्मनिरपेक्ष राष्ट्र बन्यो । नेपालभित्र सबै धर्मले फुल्ने अवसर पाए । तर, यतिबेला देउवाले नै ‘मैले संवैधानिक राजसंस्था मानेकै थिएँ’ भनेर त्यसप्रति सकारात्मक आशय प्रकट गरेका छन् । अर्कातिर, उनले जोड दिएर भनेका छन्- ‘म हिन्दु हुँ, हिन्दु हुँ ।’

जेनजी विद्रोहको बेला देउवा निर्घात कुटिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले आलोपालो प्रणालीअनुसार पद त्यागेपछि प्रधानमन्त्री बन्न खोजिरहेका थिए । तर, झण्डैले जीवन जोगियो । त्यसपछि देश छाडेर सिंगापुर उपचार गर्न जानुपर्‍यो । सिंगापुर जानुअघिसम्म उनको संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रप्रति झुकाव प्रकट भएको थिएन ।

तर, सिंगापुरबाट हङकङ हुँदै स्वदेश फर्किएपछि उनी कतै संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रप्रति सकारात्मक बनेको आशंका गर्न मिल्ने अवस्था देखिएको छ । उनले आफूपक्षीय कांग्रेसको राष्ट्रिय सम्मेलनबाट आफू पुरानो व्यवस्थातिर फर्किन तल्लिन रहेको सन्देश दिएका छन् । विगतदेखि नै हिन्दुराष्ट्रको पक्षमा स्पष्ट देखिँदै आएका शंकर भण्डारीले त संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापना गरेरै छाड्ने घोषणा गरेका छन् । परम्परावादी शक्ति राप्रपाका नेताहरूभन्दा भण्डारी यसबारे निकै कडा सुनिएका छन् ।

जबकि, संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको नाममा राजनीति गर्दै आएको राजेन्द्र लिङ्देन र उनको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजा र हिन्दु धार्मिक समुदायकै अविश्वासयोग्य दल बनिसकेको छ । राजतन्त्रको एजेन्डा बोकेको र गणतन्त्रको सबलीकरण गर्ने प्रचण्ड नेतृत्वको सरकारमा लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री भए । अन्ततः गत निर्वाचनमा यो दल सोत्तर नै भयो ।

लिङ्देनको पार्टी आफ्नो आदर्श र लक्ष्यबाट विमुख भएको भन्दै धवलशम्शेर राणा जय नेपाल पार्टीका सभापति भएका छन् । उनले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको मुद्दामा चट्टान बन्ने घोषणा गरेका छन् ।

अर्कातिर, मेडिकल व्यवसायी दुर्गा प्रसाईं त भनिरहेका छन्- राजा ल्याउँछौँ, नारायणहिटीमा राख्छौँ । देशलाई हिन्दुराष्ट्र बनाउँछौँ । झण्डै तीन वर्षदेखि उनी यही अभियानमा छन् । उनले नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्न र हिन्दुराष्ट्र पुनः कायम गराउन छिमेकी देश भारतको सहयोग चाहेका थिए । उनी त्यसका लागि केही महिनाअघि भारत गए । तर, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को साथ नपाएपछि उनी पछि हटे ।

तर, गत साउन १० गतेदेखि १६ गतेसम्म सुनसरीको देवानगञ्ज, कप्तानगञ्ज, सिरहाको गोलबजार हुँदै धनुषाको जनकपुरसम्म फैलिएको धार्मिक तनावका बेला हिन्दुराष्ट्र पुनःस्थापनाको मुद्दा जोडले उठ्यो । गणतन्त्र नेपालका गृहमन्त्री सुधन गुरुङसँग उनकै दलका कार्यकर्ताहरूले संयुक्त हिन्दु मोर्चाको नामबाट नेपाललाई तीन महिनाभित्र हिन्दुराष्ट्र कायम गराउन प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखे । भनिन्छ, गृहमन्त्री गुरुङ त्यसमा सकारात्मक भए । यसबीचमा यसबारे प्रश्न उठे । तर, उनले जवाफ दिएका छैनन् ।

यस्तो अवस्थामा देउवा स्वदेश फर्किएलगत्तै ‘म हिन्दु हुँ, हिन्दु हुँ’ भन्नु र विगतमा आफूले संवैधानिक राजसंस्था मानेकै थिएँ भनेर इतिहास भइसकेको व्यवस्थाप्रति झुकाव राख्नु सामान्य घटना होइन ।

अझ, प्रधानमन्त्री बालेनका राजनीतिक सल्लाहकार असिम शाह राजसंस्थापक्षधर नेता हुन् । ६ वर्षअघि नै उनले देशका अन्तिम राजा ज्ञानेन्द्र शाहलाई सुध्रिन मौका दिनुपर्ने भन्दै ‘राजा आऊ, देश बचाउ’को नारा लगाएका थिए । उनैलाई प्रधानमन्त्री बालेनले संविधान संशोधन कार्यदलको संयोजक बनाएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासँग सम्बन्धित र धर्मनिरपेक्षतासँग सम्बन्धित कतिपय धारा र उपधारामा संशोधनको सुझाव दिएका छन् ।

यसरी बालेन सरकार आफैंले देशलाई संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको दिशामा अगाडि बढाउँदै गर्दा अर्कातिर गणतन्त्रका प्रधानमन्त्री भइसकेका र गणतन्त्रवादी दल कांग्रेसका निवर्तमान सभापति देउवाको झुकाव पनि त्यसतर्फ नै देखिनु स्वाभाविक विषय होइन ।

प्रश्न देउवा हिन्दु हुन् कि होइनन् भन्ने होइन । उनको व्यक्तिगत धार्मिक आस्थामाथि प्रश्न उठाउने विषय पनि होइन । प्रश्न यति हो- संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षतालाई आफ्नो राजनीतिक दस्तावेजमा स्वीकार गरेको कांग्रेसका निवर्तमान सभापति नै संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रप्रति सकारात्मक देखिन थालेपछि कांग्रेसको राजनीतिक दिशा कता जाँदैछ ?

सनातन धर्मको पक्षधरतादेखि संविधान संशोधनसम्म, कांग्रेस राष्ट्रिय भेलाले के के गर्यो निर्णय?

काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेला तथा सम्मेलन विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। साउन २९ गतेदेखि सुरु भएको सम्मेलनले पार्टीको आगामी महाधिवेशन, राष्ट्रिय एकता, सनातन धर्म-संस्कृति, संविधान संशोधन तथा सम्मेलनबाट पारित प्रस्तावलाई लिखित रूप दिने विषयमा महत्वपूर्ण निर्णय गरेको छ।

राष्ट्रिय भेलाको उद्घाटन र समापन दुवै सत्रमा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा सहभागी भएका थिए। साढे पाँच महिनापछि उपचार गरेर स्वदेश फर्केका उनले भेलामा राजसंस्था र हिन्दूत्वको मुद्दा जोडतोडका साथ उठाएका छन्।  यसले हिन्दूराष्ट्र नेपाल र राजसंस्थाका विषयमा विगत लामो समयदेखि भइरहेका चर्चा- उठ्ने गरेका प्रश्नहरुलाई थप चर्काएको देखिन्छ। 

भेलामा पार्टीको वर्तमान अवस्था, नेतृत्व विवाद, आगामी महाधिवेशनको तयारी तथा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा विस्तृत छलफल भएको थियो। विभिन्न जिल्ला र प्रदेशबाट आएका प्रतिनिधिहरुले विभिन्न समुह बनाएर कांग्रेस नेताहरु एनपी साउद, उमाकान्त चौधरी, रमेश लेखक, प्रकाशशरण महत लगायतले भेलामा प्रस्तुत गरेका राजनीतिक, आर्थिक, सांगठनिक प्रतिवेदनमाथि छलफल गरेका थिए। 

भेलाले छ वटा मुख्य निर्णय गरेका छ। नेता प्रकाशशरण महतले भेलाले पाँचवटा निर्णय गरेको जानकारी दिए। उनका अनुसार अब संस्थापनइतर पक्षका तर्फबाट हुने आगामी कार्यक्रम तथा गतिविधि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ। यससँगै कोइराला औपचारिक रूपमा संस्थापनइतर पक्षका गतिविधिको नेतृत्वदायी भूमिकामा रहने भएका छन्।

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने निर्णय

भेलाको सबैभन्दा महत्वपूर्ण निर्णयका रूपमा १५औँ महाधिवेशन नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा सम्पन्न गर्ने उल्लेख गरिएको छ। उक्त महाधिवेशन पार्टी सभापति शेरबहादुर देउवाकै सभापतित्वमा सम्पन्न हुने निर्णय भेलाले गरेको छ।

भेलाले देउवाकै नेतृत्वमा पार्टीलाई एकताबद्ध गर्दै १५औँ महाधिवेशन सम्पन्न गर्न सकिने विश्वाससमेत व्यक्त गरेको छ। पार्टीभित्र नेतृत्वलाई लिएर देखिएको विवाद र फरक–फरक धारबीचको दूरीलाई अन्त्य गर्दै महाधिवेशनसम्म पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा भेलाले जोड दिएको छ।

निर्णयमा १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका आवश्यक नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले संयोजन गर्दै जाने उल्लेख गरिएको छ। यसले संस्थापनइतर पक्षले अबका गतिविधि शशांक कोइरालाको संयोजकत्वमा अघि बढाउने स्पष्ट संकेत गरेको छ।

राष्ट्रिय एकता र लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने

भेलाले देशको वर्तमान राजनीतिक अवस्थालाई समेत ध्यानमा राख्दै राष्ट्रिय एकता र लोकतान्त्रिक शक्तिहरूबीच संवाद तथा सहकार्यलाई प्राथमिकता दिने निर्णय गरेको छ।

निर्णयमा २०३३ सालमा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राख्दै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसंग उल्लेख गरिएको छ।

आज पनि देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको निष्कर्ष निकाल्दै भेलाले राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिहरूसँग संवादलाई निरन्तरता दिने निर्णय गरेको हो। राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेस सक्रिय रूपमा अघि बढ्नुपर्ने भेलाको निष्कर्ष छ।

कांग्रेसले मुलुकमा देखिएका राजनीतिक तथा सामाजिक चुनौतीको समाधान संवाद र सहमतिबाट खोज्नुपर्नेमा जोड दिएको छ। लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र राष्ट्रिय मुद्दामा साझा धारणा निर्माण गर्न कांग्रेसले भूमिका खेल्नुपर्ने निर्णयमा उल्लेख गरिएको छ।

सनातन धर्म र धार्मिक स्वतन्त्रताको पक्षमा प्रतिबद्धता

राष्ट्रिय भेलाले नेपालको सनातनदेखि चलिआएको धर्म तथा संस्कृतिलाई राष्ट्रिय पहिचानसँग जोडेर हेर्ने निर्णयसमेत गरेको छ। नेपालमा लामो समयदेखि कायम रहँदै आएको धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई कायम राख्दै प्रत्येक व्यक्ति तथा धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने भेलाको धारणा छ।

निर्णयमा नेपालमा परम्परादेखि चलिआएका हिन्दू, बौद्ध, किराँत तथा प्रकृतिपूजक धर्म-संस्कृतिको संरक्षण गर्ने दायित्वलाई ध्यानमा राख्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

भेलाले धार्मिक आस्था र स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण आवश्यक रहेको निष्कर्ष निकालेको छ। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपालको विशेषता भएकाले त्यसलाई थप मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा भेलाले जोड दिएको छ।

यसअघि पनि कांग्रेसभित्र धर्म, संस्कृति र नेपालको मौलिक पहिचानका विषयमा फरक-फरक धारणा सार्वजनिक हुँदै आएका थिए। पछिल्लो समय हिन्दू धर्म र सनातन संस्कृतिको विषय राजनीतिक बहसमा समेत प्रवेश गरिरहेका बेला संस्थापनइतर पक्षको राष्ट्रिय भेलाले यसलाई आफ्नो निर्णयमा समेटेको हो।

संविधान संशोधनका लागि संवाद गर्ने

भेलाले वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्नुपर्ने विषयमा पनि निर्णय गरेको छ। संविधानले व्यवस्था गरेको प्रक्रियाअनुसार सम्बन्धित सबै पक्षसँग संवाद गरी आवश्यक संशोधन तथा निकास खोज्ने निर्णय भेलाले गरेको हो।

संविधान कार्यान्वयनका क्रममा देखिएका समस्या तथा जनअपेक्षाअनुसार आवश्यक सुधारका विषयमा राजनीतिक दल, नागरिक समाज र सम्बन्धित सरोकारवालासँग संवाद गर्नुपर्ने भेलाको निष्कर्ष छ। संविधान संशोधन गर्दा संवैधानिक व्यवस्थालाई आधार बनाएर सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।

पारित प्रस्तावलाई लिखित रूप दिने जिम्मेवारी साउदलाई

भेलामा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावलाई समेटेर अन्तिम रूपमा लिखित दस्तावेज तयार गर्ने जिम्मेवारी पनि तोकिएको छ।

भेलाले प्रस्तुत प्रस्ताव तथा सुझावलाई समेटेर परिमार्जनसहित पारित प्रस्तावलाई व्यवस्थित रूपमा लिखित रूप दिने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठन गरिएको समितिलाई दिएको छ।

समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सीता राना सदस्यका रूपमा रहनेछन् भने सहयोगीका रूपमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल रहने निर्णय गरिएको छ।

यस समितिले राष्ट्रिय भेलामा उठेका विषय, प्रस्तुत प्रस्ताव तथा सहभागीहरूबाट आएका सुझावलाई समेटेर अन्तिम दस्तावेज तयार गर्नेछ। त्यसलाई पार्टीको आगामी राजनीतिक गतिविधि तथा संगठनात्मक दिशासँग जोडेर अघि बढाउने तयारी संस्थापनइतर पक्षको छ।

शशांकको संयोजकत्वमा अबका गतिविधि

राष्ट्रिय भेलाले अबका कार्यक्रम तथा गतिविधि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा अघि बढाउने निर्णय गरेपछि कांग्रेसभित्र उनको भूमिकासमेत महत्वपूर्ण बनेको छ।

विशेष महाधिवेशनमा सहभागी नभएको संस्थापनइतर पक्षले छुट्टै राष्ट्रिय भेला आयोजना गरेर पार्टीको भावी दिशा, नेतृत्व र संगठनात्मक गतिविधिबारे आफ्नो धारणा स्पष्ट गरेको हो। भेलाबाट देउवालाई नै पार्टी सभापतिको हैसियतमा स्वीकार गर्दै १५औँ महाधिवेशन उनकै सभापतित्वमा गर्ने निर्णय गरिएपछि कांग्रेसभित्र जारी नेतृत्वसम्बन्धी विवादमा यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

समापन कार्यक्रममा निवर्तमान सभापति देउवाको उपस्थितिले पनि भेलालाई थप राजनीतिक महत्व दिएको थियो। भेलाले देउवाको नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाएर आगामी महाधिवेशनसम्म लैजाने सन्देश दिएको छ।

कांग्रेसभित्र विभिन्न समूहबीच देखिएको मतभेद र नेतृत्वसम्बन्धी विवादका बीच संस्थापनइतर पक्षले राष्ट्रिय भेलामार्फत आफ्नो राजनीतिक धारणा सार्वजनिक गरेको हो। अब शशांक कोइरालाको संयोजकत्वमा हुने गतिविधिले संस्थापनइतर पक्षको आगामी रणनीति र कांग्रेसभित्रको शक्ति समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

राष्ट्रिय भेलाले देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ भने अर्कोतर्फ राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण, सनातन धर्म-संस्कृतिको संरक्षण, संविधान संशोधन र पार्टीभित्रको एकतालाई प्राथमिकतामा राखेको छ। अब पारित निर्णयलाई कार्यान्वयनमा लैजाँदै संस्थापनइतर पक्षले आगामी दिनमा पार्टीभित्र आफ्नो गतिविधि कसरी अघि बढाउँछ भन्ने विषय कांग्रेसको आन्तरिक राजनीतिका लागि महत्वपूर्ण हुने देखिएको छ।

एम्बुलेन्स नै थला परेपछि बिरामीको बिजोग

काठमाडौं। मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स जीर्ण भएपछि गम्भीर बिरामीको उपचारमा समस्या हुने गरेको छ।

करिब १५ वर्ष पुरानो एम्बुलेन्स पटकपटक बिग्रिने गरेपछि बिरामीलाई अस्पतालभित्रै ओसारपसार गर्नसमेत कठिनाइ हुने गरेको अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलका अनुसार अस्पतालसँग एम्बुलेन्स भए पनि भरपर्दो अवस्थामा छैन। एम्बुलेन्स बिग्रिरहने भएकाले आकस्मिक अवस्थामा बिरामीलाई समयमै अन्य अस्पताल लैजान समस्या हुने गरेको उनको भनाइ छ।

गम्भीर बिरामी, दुर्घटनाका घाइते तथा प्राकृतिक विपद्का घटनामा परेकालाई थप उपचारका लागि पोखरा वा अन्य सुगम स्थानमा रहेका अस्पतालमा रिफर गर्नुपर्दा एम्बुलेन्सको अभावले समस्या झनै जटिल बन्ने गरेको डा. कँडेलले बताइन्।

उनका अनुसार नयाँ एम्बुलेन्स उपलब्ध गराउन प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखासँग करिब दुई वर्षदेखि पटकपटक माग गरिए पनि अहिलेसम्म नयाँ एम्बुलेन्स प्राप्त भएको छैन।

अस्पताल नजिकै रहेको घरपझोङ गाउँपालिकाको एम्बुलेन्स पनि बिग्रिएर सञ्चालनमा नरहेपछि बिरामीका लागि थप समस्या सिर्जना भएको छ। गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले गाउँपालिकासँग एम्बुलेन्स भए पनि हाल सञ्चालनमा नरहेको जानकारी दिए।

मुस्ताङका पाँच स्थानीय तहमध्ये चार स्थानीय तहसँग गरी आठवटा एम्बुलेन्स रहेको भए पनि तीमध्ये आधा मात्रै सञ्चालनमा रहेको जनाइएको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासँग भने एम्बुलेन्स नै छैन।

उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा रहेका एम्बुलेन्स भने नियमित रूपमा सञ्चालनमा रहेको बताइएको छ।

भौगोलिक रूपमा विकट तथा सडक यातायातका दृष्टिले चुनौतीपूर्ण मुस्ताङमा आकस्मिक उपचारका लागि एम्बुलेन्स महत्वपूर्ण साधन हो।

जिल्लाभित्रै भरपर्दो एम्बुलेन्स सेवा नहुँदा गम्भीर बिरामीलाई समयमै सुविधासम्पन्न अस्पताल पुर्‍याउन कठिनाइ हुने गरेको छ।

प्रचारबाजी छाडेर डिलरमार्फत ग्यास बाँड्‍न सरकारलाई महासंघकाे सुझाव

काठमाडौं। देशभर खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै गएपछि ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न नाममा सञ्चालन भइरहेका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ। महासंघले परम्परागत विक्रेता तथा डिलरलाई वितरण प्रणालीबाट पन्छाएर उद्योग र अन्य केन्द्रमार्फत ग्यास बिक्री गर्ने सरकारी नीतिका कारण बजारमा झन् अव्यवस्था बढेको दाबी गरेको छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण च्यानलका रूपमा रहेका विक्रेता तथा डिलरलाई बेवास्ता गर्दै उद्योग र विभिन्न बिक्री केन्द्रबाट ग्यास बिक्री गरिँदा उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन्। उनका अनुसार वितरण प्रणालीलाई व्यवस्थित गर्नुको सट्टा विभिन्न माध्यमबाट प्रत्यक्ष बिक्री गराउने प्रयासले बजारमा रहेको अभावलाई थप जटिल बनाएको हो।

महासंघले एकातर्फ विक्रेतालाई पर्याप्त ग्यास उपलब्ध नगराउने र अर्कोतर्फ अनुगमनका नाममा विक्रेतामाथि अनावश्यक दबाब तथा दुःख दिने सरकारी कार्यशैलीप्रति आपत्ति जनाएको छ। यसले ग्यासको बजार व्यवस्थापन थप भद्रगोल बनेको महासंघको निष्कर्ष छ।

महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफैं ग्यास बिक्री गर्ने, अनि अनुगमनका नाममा आम विक्रेतालाई अनावश्यक दुःख दिने सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति प्रकट गर्दछ।’

महासंघले ग्यास उद्योग तथा विभिन्न नाममा सञ्चालित बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्री तत्काल रोक्न र विक्रेतामार्फत मात्र ग्यासको बिक्री–वितरण व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ। डिलर तथा विक्रेतालाई वितरणको जिम्मेवारी दिएर प्रणालीलाई व्यवस्थित बनाइए मात्रै उपभोक्ताले भोग्दै आएको सास्ती कम गर्न सकिने महासंघको दाबी छ।

महासंघका अनुसार पछिल्लो समय देशमा ग्यासको आपूर्ति र मागबीचको सन्तुलन बिग्रिँदै गएको छ। विगत चार महिनामा मात्रै करिब ६० हजार टन एलपी ग्यास कम आयात भएको तथ्यांक महासंघले सार्वजनिक गरेको छ। आयातमा आएको कमीले बजारमा ग्यासको उपलब्धता प्रभावित भएको र त्यसको प्रत्यक्ष असर उपभोक्तामाथि परेको महासंघको भनाइ छ।

त्यसैगरी बजारमा आवश्यकताभन्दा बढी संख्यामा सिलिन्डर छरिएको विषयलाई पनि महासंघले अहिलेको संकटको अर्को कारणका रूपमा औंल्याएको छ। महासंघका अनुसार बजारमा करिब ८० लाख नयाँ सिलिन्डर थपिएका छन्। माग र वितरण प्रणालीको वास्तविक अवस्थालाई ध्यान नदिई नयाँ सिलिन्डरको बिक्री भइरहँदा भविष्यमा समेत ग्यास व्यवस्थापनमा थप समस्या उत्पन्न हुन सक्ने महासंघको चेतावनी छ।

महासंघले अहिले पनि नयाँ सिलिन्डरको बिक्री नरोकिएको भन्दै तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेको छ। नयाँ सिलिन्डर थपिँदै जाने तर ग्यासको आपूर्ति तथा वितरण प्रणाली व्यवस्थित नहुने हो भने आगामी वर्षहरूमा ग्यास अभावको समस्या अझ गम्भीर बन्ने महासंघको दाबी छ।

ग्यास विक्रेता महासंघले बजारमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि आयात, वितरण र बिक्री प्रणालीको समग्र समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएको छ। विक्रेता तथा डिलरलाई वितरण प्रक्रियाबाट अलग गरेर उद्योग वा विभिन्न बिक्री केन्द्रबाट मात्रै ग्यास उपलब्ध गराउने प्रयासले समस्या समाधान नहुने महासंघको भनाइ छ।

महासंघले सम्बन्धित निकाय नेपाल आयल निगम, वाणिज्य मन्त्रालय तथा सरकारमाथि वास्तविक समस्या पहिचान गरी समाधान खोज्नुको सट्टा अनावश्यक प्रचारबाजीमा केन्द्रित भएको आरोपसमेत लगाएको छ। बजारमा ग्यासको वास्तविक उपलब्धता, आयातको अवस्था, वितरण प्रणाली र उपभोक्ताको मागबारे गम्भीर अध्ययन गरी तत्काल आवश्यक कदम चाल्न महासंघले आग्रह गरेको छ।

देशका विभिन्न ठाउँमा उपभोक्ताहरू ग्यासका लागि लामो समय लाइन बस्नुपर्ने, तोकिएको समयमा सिलिन्डर नपाउने तथा ग्यासको खोजीमा विभिन्न बिक्री केन्द्र धाउनुपर्ने अवस्था सिर्जना भएको भन्दै महासंघले वितरण प्रणाली तत्काल सुधार गर्नुपर्नेमा जोड दिएको छ।

महासंघले ग्यास उद्योगबाट विक्रेतालाई पर्याप्त मात्रामा ग्यास उपलब्ध गराउने, डिलरको वितरण प्रणालीलाई प्रभावकारी बनाउने तथा अनावश्यक रूपमा प्रत्यक्ष बिक्री गराउने प्रवृत्ति रोक्ने हो भने अहिले देखिएको समस्या क्रमशः समाधान गर्न सकिने जनाएको छ।

यसैगरी, ग्यासको आयात घटेको अवस्थामा बजारमा उपलब्ध सिलिन्डरको व्यवस्थापन, आयातको नियमितता र वितरण प्रणालीमा देखिएका कमजोरीलाई एकसाथ सम्बोधन गर्नुपर्ने महासंघको माग छ। अन्यथा तत्कालको अभाव मात्रै नभई आगामी दिनमा समेत एलपी ग्यासको आपूर्ति व्यवस्थामा गम्भीर संकट आउन सक्ने महासंघले चेतावनी दिएको छ।

कांग्रेस राष्ट्रिय सम्मेलनका निर्णयलाई अन्तिम रूप दिन एनपी साउदको संयोजकत्वमा समिति गठन

काठमाडौं। नेपाली कांग्रेसको हालै सम्पन्न राष्ट्रिय सम्मेलनबाट पारित प्रस्ताव तथा सम्मेलनमा प्राप्त सुझावलाई समेटेर अन्तिम दस्तावेज तयार गर्न समिति गठन गरिएको छ।

साउन २० र २१ गते सम्पन्न राष्ट्रिय सम्मेलनमा राजनीतिक, आर्थिक तथा संगठनात्मक विषयमा विभिन्न प्रस्ताव प्रस्तुत भएका थिए। ती प्रस्तावमाथि प्रतिनिधिहरूबाट आएका सुझाव, धारणा र निष्कर्षलाई समेटेर परिमार्जित दस्तावेज तयार गर्ने जिम्मेवारी निवर्तमान केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित समितिलाई दिइएको छ।

समितिको संयोजकमा साउद तथा सदस्यमा केन्द्रीय सदस्य उमाकान्त चौधरी र सीता राना रहेका छन्। समितिलाई आवश्यक सहयोग गर्न केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेललाई सहयोगीको जिम्मेवारी दिइएको छ।

समितिले राष्ट्रिय सम्मेलनका क्रममा उठेका महत्वपूर्ण विषय, प्रतिनिधिका सुझाव र छलफलबाट आएका निष्कर्षलाई समेटेर पार्टीको आगामी कार्यदिशासहितको अन्तिम प्रतिवेदन तयार गर्नेछ।

सम्मेलनबाट पारित प्रस्तावलाई आवश्यक परिमार्जन गरी तयार हुने प्रतिवेदनलाई नेपाली कांग्रेसको आधिकारिक दस्तावेजका रूपमा सार्वजनिक गरिने जनाइएको छ।

दुई दिनसम्म चलेको राष्ट्रिय सम्मेलनमा पार्टीको आन्तरिक संगठन सुदृढीकरण, राजनीतिक दिशा, आर्थिक नीति तथा आगामी निर्वाचनको तयारी र रणनीतिबारे विभिन्न विषयमा छलफल भएको थियो। समितिले तयार गर्ने प्रतिवेदनले सम्मेलनबाट तय भएका निर्णय र आगामी कार्यदिशालाई औपचारिक दस्तावेजका रूपमा समेट्नेछ।

कांग्रेस बचाउने तीन पुस्ता राष्ट्रिय सम्मेलनमा : नेता दाहाल

काठमाडौं। नेपाली कांग्रेसको इतर पक्षकाे जारी राष्ट्रिय सम्मेलनले पार्टीभित्र आशा, ऊर्जा र संगठनात्मक शक्ति अझै जीवन्त रहेको देखिएकाे नेता सूर्यकुमार दाहाल (एसके)ले बताएका छन् ।

उनका अनुसार, पार्टीको विचार, इतिहास, संघर्ष र लोकतान्त्रिक संस्कार बोकेका तीन पुस्ता राष्ट्रिय सम्मेलनमा उपस्थित छन् ।

मेचीदेखि महाकालीसम्मका सातै प्रदेशका १० हजारभन्दा बढी नेता, कार्यकर्ता तथा शुभेच्छुकको उल्लेखनीय सहभागिताले राष्ट्रिय सम्मेलनलाई विशेष अर्थ दिएको उनकाे दाबी छ ।

`यो उपस्थितिलाई कुनै व्यक्ति वा समूहको समर्थनका रूपमा बुझ्नु हुँदैन´, उनले भने, `यो कांग्रेसको विचार, संगठन, लोकतान्त्रिक संस्कार र भविष्यप्रतिको विश्वासको अभिव्यक्ति हो।´

कुनै व्यक्ति, समूह वा गुटको मात्र पार्टी कांग्रेस नभई लाखौँ कार्यकर्ताको त्याग, संघर्ष र लोकतन्त्रप्रतिको विश्वासबाट निर्माण भएको साझा राजनीतिक आन्दोलन भन्दै उनले कांग्रेस बचाउने जिम्मेवारी पनि कुनै एक नेता वा पुस्ताको मात्र हुन नसक्ने बताए ।

उनले थप भने `पुरानो पुस्तासँग अनुभव छ, मध्य पुस्तासँग संगठनात्मक क्षमता छ र नयाँ पुस्तासँग ऊर्जा र नयाँ सोच छ। यी तीनै पुस्तालाई जोड्न सकियो भने कांग्रेसलाई अझ बलियो र जनताको भरोसाको पार्टी बनाउन सकिन्छ ।´

उनले पार्टीभित्र फरक विचार हुनु लोकतन्त्रको स्वाभाविक पक्ष भएको उल्लेख गर्दै फरक विचारकै नाममा विभाजन र गुटगत स्वार्थलाई प्राथमिकता दिन नहुने बताए।

‘म हिन्दू हुँ’- भिडियाे

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भएको स्पष्ट पारेका छन्। उनले आफू हिन्दू धर्ममा आस्था राख्दैमा अन्य धर्म तथा समुदायको विरोधी नहुने प्रस्ट्याउँदै नेपालमा सबै धर्म, संस्कृति र समुदायप्रति आफ्नो समान सम्मान रहेको बताएका छन्।

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले धर्मका विषयमा आफूलाई कुनै भ्रम नराख्न आग्रह गरेका हुन्। उनले नेपाल बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै नागरिकले आफ्नो धर्म मान्ने र त्यसप्रति आस्था व्यक्त गर्ने अधिकार राख्ने बताए।

सम्बोधनका क्रममा देउवाले आफू कसैको विरोधी नभएको दोहोर्‍याउँदै भने, ‘म हिन्दू हुँ। म हिन्दू हुँ। हिन्दू हुँ। म कसैको विरोधी होइन। नेपालमा मुस्लिम धर्म मान्नेहरू छन्, किराँतहरू छन्। म कसैको खिलाफमा छैन।’

उनले आफ्नो धार्मिक आस्थालाई लिएर अनावश्यक विवाद वा भ्रम सिर्जना गर्न नहुनेसमेत बताए। आफूले हिन्दू धर्ममा विश्वास गर्छु भन्न पाउने र आफ्नो धार्मिक आस्था खुलेर व्यक्त गर्न पाउने अधिकार रहेको उनको भनाइ थियो।

‘मैले आफू हिन्दू हो भन्न पाउनुपर्‍यो नि। हिन्दूमा विश्वास गर्न पाउनुपर्‍यो नि मैले। यसमा कुनै कन्फ्युजन नहोस्,’ देउवाले भने।

देउवाको भनाइले नेपालमा धर्मका विषयमा देखिँदै आएको राजनीतिक तथा सामाजिक बहसतर्फ पनि संकेत गरेको छ। उनले आफू हिन्दू धर्मावलम्बी भए पनि अन्य धर्म मान्ने समुदायप्रति कुनै पूर्वाग्रह नरहेको स्पष्ट पार्दै धार्मिक सहिष्णुता र सबै समुदायको सम्मान आवश्यक रहेको सन्देश दिएका छन्।

नेपालमा हिन्दू, बौद्ध, मुस्लिम, किराँत, इसाईलगायत विभिन्न धार्मिक समुदायको बसोबास रहेको उल्लेख गर्दै देउवाले सबैले आफ्नो धर्म र संस्कृतिअनुसार जीवनयापन गर्न पाउने वातावरण हुनुपर्ने धारणा राखेका छन्। आफ्नो व्यक्तिगत धार्मिक आस्थालाई अरू समुदायप्रतिको विरोधका रूपमा बुझ्न नहुने उनको स्पष्टोक्ति थियो।

कांग्रेसभित्र पछिल्लो समय नेतृत्व, विचार र पार्टीको भावी दिशालाई लिएर बहस चलिरहेका बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो। राष्ट्रिय भेलामा उनले पार्टीभित्र तथा बाहिरका विभिन्न विषयमा आफ्नो धारणा राख्दै आफू कुनै व्यक्ति, समुदाय वा विचारको विरोधी नभएको सन्देश दिन खोजेका थिए।

देउवाले आफ्नो लामो राजनीतिक जीवनमा आफूले सबै समुदाय र वर्गलाई समेटेर अघि बढ्ने प्रयास गरेको दाबीसमेत गरेका छन्। नेपालको विविधता नै मुलुकको विशेषता भएकाले राजनीतिक दलहरूले पनि सबै धर्म, समुदाय र संस्कृतिलाई समान रूपमा सम्मान गर्नुपर्ने उनको धारणा थियो।

यस क्रममा उनले आफ्नो व्यक्तिगत धार्मिक आस्थालाई राजनीतिक विरोधको विषय नबनाउनसमेत आग्रह गरे। आफू हिन्दू भएको स्वीकार गर्नु र हिन्दू धर्मप्रति विश्वास राख्नु कुनै अर्को धर्म वा समुदायको विरोध गर्नु नभएको उनको भनाइको सार थियो।

देउवाको अभिव्यक्तिले धार्मिक स्वतन्त्रता, सहिष्णुता र नेपालको बहुधार्मिक पहिचानबारे बहसलाई थप चर्चामा ल्याएको छ। उनले आफ्नो आस्था स्पष्ट रूपमा राख्दै अन्य धर्मावलम्बीप्रति सम्मान रहेको बताएकाले आफ्नो भनाइलाई कुनै समुदायविरुद्धको अभिव्यक्तिका रूपमा नबुझ्नसमेत संकेत गरेका छन्।

‘म हिन्दू धर्म मान्छु, तर कसैको विरोधमा छैन’

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्मप्रति आस्था राख्ने व्यक्ति भएको बताएका छन्।

उनले आफ्नो धार्मिक विश्वासलाई लिएर कुनै भ्रम नराख्न आग्रह गर्दै आफू अन्य धर्म वा समुदायको विरोधी नभएको स्पष्ट पारेका छन्।

कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले नेपाल विभिन्न धर्म र समुदायको साझा देश भएकाले सबैको आस्थाको सम्मान हुनुपर्ने धारणा राखे।

आफू हिन्दू धर्म मान्ने भए पनि त्यसको अर्थ अन्य धर्मप्रति विरोध नरहेको उनको भनाइ थियो। नेपालमा मुस्लिम, किराँतलगायत विभिन्न धार्मिक समुदायको बसोबास रहेको उल्लेख गर्दै उनले सबैप्रति आफ्नो सम्मान रहेको बताए।

देउवाले आफ्नो व्यक्तिगत धार्मिक आस्था व्यक्त गर्ने अधिकारसमेत आफूलाई हुनुपर्ने बताए। उनले आफू हिन्दू भएको र हिन्दू धर्ममा विश्वास गर्ने कुरा खुला रूपमा भन्न पाउनुपर्नेमा जोड दिए।

आफू हिन्दू भए पनि कुनै धर्म वा समुदायको खिलाफमा नरहेको र यस विषयमा अनावश्यक भ्रम सिर्जना गर्न नहुने उनको भनाइ थियो।

देउवाको अभिव्यक्ति कांग्रेसभित्र धार्मिक आस्था र धर्मनिरपेक्षतासम्बन्धी बहस भइरहेका बेला आएको हो।

उनले व्यक्तिगत धार्मिक विश्वास र अन्य धर्मप्रतिको सम्मानलाई अलग विषयका रूपमा बुझ्नुपर्ने सन्देश दिएका छन्।

 

ग्यासका लागि बिहानैदेखि लाइन, काठमाडौंका सात ठाउँमा विशेष बिक्री

काठमाडौं। काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले विशेष बिक्रीको व्यवस्था गरेसँगै तोकिएका वितरण केन्द्रमा उपभोक्ताको ठूलो भीड लागेको छ।

निगमको टेकु परिसरलगायत विभिन्न स्थानमा बिहानैदेखि ग्यास लिन पुगेका उपभोक्ताको लामो लाइन देखिएको छ।

नियमित विक्रेताबाट ग्यास पाउन समस्या भएका तथा तत्काल ग्यास आवश्यक पर्ने उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा आइतबार उपत्यकाका सात स्थानबाट ग्यास बिक्रीवितरणको व्यवस्था गरिएको हो।

निगमका अनुसार तोकिएका केन्द्रबाट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास खरिद गर्न सकिनेछ। ग्यास लिन जाने उपभोक्ताले अनिवार्य रूपमा नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र साथमा लैजानुपर्ने व्यवस्था गरिएको छ।

विशेष बिक्रीका लागि निगमले विभिन्न ब्रान्डका ग्यास सिलिन्डर उपलब्ध गराएको छ। टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सागर ग्यास बिक्री भइरहेको छ।

त्यस्तै, पशु सेवा शाखा, चपली बूढानीलकण्ठबाट नेपाल, एचपी र भानु, राधास्वामी कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ग्यास वितरण भइरहेको छ।

नयाँ बजारस्थित जुडो हल परिसरबाट नेपाल, एचपी र ओम तथा तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ग्यास बिक्री गर्ने व्यवस्था गरिएको छ।

यसैगरी, चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट नेपाल, एचपी, सूर्य, सागर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री भइरहेको निगमले जनाएको छ।

ग्यास वितरणका लागि तोकिएका स्थानमा उपभोक्ताको संख्या ठूलो भएपछि बिहानैदेखि लामो लाइन लागेको हो। नियमित आपूर्तिमा समस्या देखिएपछि तत्काल ग्यास आवश्यक परेका उपभोक्तालाई सहज बनाउन विशेष बिक्रीको व्यवस्था गरिएको निगमले जनाएको छ।

उपभोक्ताहरूले भने लामो समय लाइनमा बस्नुपरेको र ग्यास पाउने निश्चितता नहुँदा समस्या भएको बताएका छन्। विशेष बिक्रीका केन्द्रमा मागअनुसार पर्याप्त सिलिन्डर उपलब्ध गराउन सके मात्र तत्कालको समस्या केही हदसम्म समाधान हुने देखिएको छ।

यसअघि पनि काठमाडौंका विभिन्न स्थानबाट निगम र जिल्ला प्रशासनको समन्वयमा ग्यास वितरण गरिएको थियो।

निगमले भने एलपी ग्यासको आयात नियमित रहेको र सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेतामार्फत नियमित बिक्रीवितरण गरिरहेको बताउँदै आएको छ।

६० वर्षकै ठूलो वर्षाले जापान बेहाल : नौ जनाको मृत्यु

एजेन्सी। पूर्वी जापानमा परेको अत्यधिक भारी वर्षाका कारण कम्तीमा नौ जनाको मृत्यु भएको छ।

जापानी सार्वजनिक प्रसारक एनएचकेका अनुसार लगातारको वर्षाले बाढी र पहिरोको जोखिम बढाउनुका साथै सडक, रेल सेवा र विद्युत् आपूर्तिमा समेत ठूलो असर पारेको छ।

बिहीबार रातिदेखि सुरु भएको मुसलधारे वर्षाका कारण विशेषगरी चिबा प्रिफेक्चर प्रभावित भएको छ। वर्षाको मात्रा असामान्य रूपमा बढेपछि जापानका मौसम अधिकारीहरूले चिबाका लागि पहिलोपटक उच्च तहको भारी वर्षासम्बन्धी चेतावनी जारी गरेका थिए।

चिबास्थित एक मौसम मापन केन्द्रमा २४ घण्टाको अवधिमा करिब ३० सेन्टिमिटर अर्थात् १२ इन्च वर्षा रेकर्ड गरिएको थियो। यो पछिल्लो ६० वर्षमा अगस्ट महिनामा त्यहाँ मापन गरिएको सबैभन्दा ठूलो वर्षा भएको बताइएको छ।

भूमि मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म चिबा सहरमा सामान्यतः पूरै अगस्ट महिनामा पर्ने औसत वर्षाको तुलनामा तीन गुणाभन्दा बढी वर्षा भइसकेको थियो।

अत्यधिक वर्षाका कारण नदीमा पानीको सतह बढ्नुका साथै विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको छ। डुबानका कारण केही मानिस सवारीसाधनभित्रै फसेका थिए। मृतकमध्ये केहीलाई डुबानमा परेका सवारीसाधनबाट उद्धारका क्रममा फेला पारिएको र केहीलाई पानीले भरिएका सडकमा मृत अवस्थामा भेटिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

चिबा प्रिफेक्चरको पछिल्लो विवरणअनुसार एक हजारभन्दा बढी घर डुबानमा परेका छन्। तीमध्ये करिब ६ सय घरको भुइँभन्दा माथिसम्म पानी पसेको छ। त्यस्तै, ७० भन्दा बढी घरमा आंशिक क्षति पुगेको जनाइएको छ।

बाढीका कारण सडकमा ठूलो संख्यामा सवारीसाधन अलपत्र परेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार करिब १ हजार २ सय सवारीसाधन विभिन्न सडकमा फसेका छन्। अधिकारीहरूले टो र ज्याकको प्रयोग गरी ती सवारीसाधन हटाउने तथा प्रभावित क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन्।

भारी वर्षाले यातायात पूर्वाधारमा समेत असर पुर्‍याएको छ। सडक अवरुद्ध हुनुका साथै केही रेल सेवा प्रभावित भएका छन्। विद्युत् आपूर्ति अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा जनजीवन थप कठिन बनेको छ।

जापानको मौसम विज्ञान विभागका अधिकारीहरूले वर्षा सुरु हुनुअघि नै चिबामा ‘अभूतपूर्व स्तरको भारी वर्षा’ हुन सक्ने चेतावनी दिएका थिए। अधिकारीहरूले प्रभावित क्षेत्रमा बसोबास गर्ने मानिसलाई बाढी र पहिरोको सम्भावित जोखिमबाट सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

पछिल्ला वर्षमा जापानलगायत विश्वका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा, बाढी, गर्मी र अन्य चरम मौसमी घटनाको जोखिम बढिरहेको छ। वैज्ञानिकहरूले मानवीय गतिविधिबाट भइरहेको जलवायु परिवर्तनले यस्ता चरम मौसमी घटनालाई अझ तीव्र, लामो र बारम्बार बनाइरहेको बताउँदै आएका छन्।

जापानमा यसपटकको वर्षाले पनि छोटो समयमै ठूलो परिमाणमा पानी पर्ने क्रम बढ्दै गएको र त्यसले शहरी क्षेत्रमा बाढी तथा पूर्वाधारमा क्षतिको जोखिम बढाएको देखाएको छ।

प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको अधिकारीहरूले बताएका छन्।

कम्युनिटी शिल्डमा आज आर्सनल-सिटी भिड्दै

काठमाडौं। इंग्लिस फुटबलको नयाँ सिजन सुरु हुनुअघि आज आर्सनल र म्यानचेस्टर सिटी कम्युनिटी शिल्डको उपाधिका लागि आमनेसामने हुँदैछन्।

गत सिजन प्रिमियर लिग च्याम्पियन बनेको आर्सनल र एफए कप विजेता सिटीबीचको खेललाई नयाँ सिजनको पहिलो ठूलो प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

कम्युनिटी शिल्डको उपाधि प्रतिष्ठाको विषय भए पनि यसको नतिजाले आगामी प्रिमियर लिगको सम्भावनाबारे स्पष्ट संकेत गर्छ भन्ने छैन। पछिल्लो इतिहासले समेत शिल्डको नतिजा र त्यसपछिको लिग सफलताबीच बलियो सम्बन्ध नरहेको देखाउँछ।

प्रिमियर लिग सुरु भएयता ३४ पटक कम्युनिटी शिल्ड आयोजना हुँदा शिल्ड जित्ने टोलीमध्ये  आठ टोलीले मात्र सोही सिजन प्रिमियर लिगको उपाधि जितेका छन्। अझ पछिल्लो १५ संस्करणलाई हेर्दा शिल्ड जितेर त्यही सिजन प्रिमियर लिग जित्ने टोलीको संख्या एकमा सीमित छ।

रोचक पक्ष के छ भने कम्युनिटी शिल्डमा पराजित हुने टोलीले भने त्यसपछिको सिजनमा १० पटक प्रिमियर लिग उपाधि जितेका छन्। यसले शिल्डको नतिजाभन्दा नियमित सिजनमा देखाउने निरन्तरता र प्रदर्शन नै लिग उपाधिका लागि निर्णायक हुने संकेत गर्छ।

आजको खेलमा आर्सनल गत सिजनको सफलतालाई निरन्तरता दिँदै नयाँ सिजनमा पनि उपाधि दौडमा आफ्नो दाबी बलियो बनाउने लक्ष्यमा हुनेछ। घरेलु लिगको उपाधि रक्षा गर्ने अभियान सुरु गर्नुअघि कम्युनिटी शिल्ड जित्दा टोलीको आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ।

अर्कोतर्फ सिटीका लागि यो खेल पछिल्लो समय गुमेको लिग वर्चस्व पुनः हासिल गर्ने अभियानको सुरुवाती परीक्षा हुनेछ। एफए कप जितेर सिजन टुंग्याएको सिटीले कम्युनिटी शिल्ड जित्दै नयाँ सिजनको सुरुवात सकारात्मक बनाउन चाहनेछ।

दुवै टोली प्रिमियर लिगका बलिया दाबेदार भएकाले खेललाई नयाँ सिजनअघि शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ। नयाँ खेलाडीको संयोजन, टोलीको तयारी, रणनीतिक अवस्था र उपाधि दौडमा दुई टोलीको सम्भावनाको प्रारम्भिक संकेत आजको खेलबाट देखिने अपेक्षा गरिएको छ।

नेपालको बिजुली कहाँ बेच्ने?

काठमाडौं। कुनै समय नेपालमा विद्युत् अभाव राष्ट्रिय संकट थियो। लोडसेडिङ, कमजोर प्रसारण संरचना र सीमित उत्पादन क्षमता ऊर्जा क्षेत्रका मुख्य समस्या थिए।

अहिले परिस्थिति फेरिएको छ। विद्युत् उत्पादन क्षमता बढ्दै गएपछि नेपालमा उत्पादित बिजुलीको व्यवस्थापन र बजार विस्तार नयाँ चुनौतीका रूपमा देखिन थालेको छ।

नेपालको विद्युत् आपूर्ति क्षमता करिब १ हजार ६ सय ९० मेगावाट पुगेको छ भने जडित क्षमता करिब २ हजार २ सय मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले करिब ७ हजार मेगावाटका आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ। थप ३ देखि ४ हजार मेगावाटका आयोजना निर्माणाधीन छन् भने अन्य धेरै आयोजना पीपीए तथा निर्माणको प्रक्रियामा छन्।

उत्पादन क्षमता बढ्दै गए पनि त्यसअनुसार विद्युत् खपत र बजार विस्तार हुन नसके वर्षायाममा अतिरिक्त विद्युत् व्यवस्थापन गर्नुपर्ने अवस्था आउने ऊर्जा क्षेत्रका अधिकारीहरू बताउँछन्।

उत्पादन क्षमता विस्तारसँगै मुलुकको विद्युत् प्रणाली क्रमशः सरप्लसतर्फ जाँदैछ। करिब ७ हजार मेगावाटको पीपीए भइसकेको अवस्थामा यसमा निजी क्षेत्र र सर्वसाधारणको ठूलो लगानी जोडिएको छ। निर्माणाधीन तथा पीपीएको प्रक्रियामा रहेका आयोजनामा पनि थप पुँजी परिचालन भइरहेको छ।

त्यसैले विद्युत्को बजार विस्तार अब निजी क्षेत्रलाई सुविधा दिने विषय मात्र रहेन। यो लगानी सुरक्षासँग जोडिएको विषय बनेको छ। उत्पादन गर्ने आयोजना बढ्दै जाने तर उत्पादित विद्युत् बिक्रीका लागि पर्याप्त बजार नहुने हो भने आयोजनाको आम्दानी प्रभावित हुन सक्छ। त्यसको असर बैंक ऋणको भुक्तानी र लगानीको प्रतिफलमा समेत पर्न सक्छ।

यसले ऊर्जा नीतिको प्राथमिकता पनि बदलिएको छ। उत्पादन विस्तारसँगै उत्पादन, प्रसारण, वितरण र विद्युत् व्यापारलाई एउटै समग्र बजार प्रणालीका रूपमा विकास गर्नुपर्ने अवस्था आएको छ।

विद्युत् व्यापारका लागि नयाँ कानुन नै पर्खेर बस्नुपर्ने अवस्था नरहेको विद्युत् नियमन आयोगका अधिकारीहरूको धारणा छ। उनीहरूका अनुसार विद्यमान विद्युत् ऐन, २०४९ को दफा २१ र २२ ले विद्युत् व्यापारका लागि आधार तयार गरिसकेको छ। विद्युत् नियमन आयोग ऐनले पनि उत्पादन, प्रसारण, वितरण र व्यापारलाई नियमन गर्ने अधिकार दिएको छ।

उपलब्ध कानुनी संरचनाभित्रैबाट विद्युत् व्यापारको प्रारम्भिक अभ्यास अघि बढाउन सकिने अवस्था रहेको बताइएको छ। त्यसका लागि विद्युत्लाई सार्वजनिक सेवा र पूर्वाधारका रूपमा मात्र नभई व्यापारिक वस्तु अर्थात् कमोडिटीका रूपमा हेर्ने दृष्टिकोण आवश्यक हुन्छ। त्यसपछि मूल्य, माग-आपूर्ति, प्रतिस्पर्धा, खरिदकर्ता, विक्रेता, व्यापारिक जोखिम र बजार पहुँचजस्ता विषय महत्वपूर्ण बन्छन्।

विद्युत् व्यापार विस्तारमा ओपन एक्सेसलाई पनि महत्वपूर्ण मानिएको छ। प्रसारण र वितरण पूर्वाधार प्राकृतिक एकाधिकारको प्रकृतिका भएकाले एउटै क्षेत्रमा धेरै कम्पनीले समानान्तर संरचना निर्माण गर्नु आर्थिक रूपमा व्यवहारिक हुँदैन। तर विद्यमान प्रसारण प्रणालीमा योग्य उत्पादक र उपभोक्तालाई भेदरहित पहुँच दिन सकिने व्यवस्था ओपन एक्सेसको आधार हो।

विद्युत् नियमन आयोगले यससम्बन्धी निर्देशिका स्वीकृत गरिसकेको अवस्थामा अब यसको कार्यान्वयन मुख्य विषय बनेको छ। ग्रिड पहुँच, कनेक्सन, मिटरिङ, ऊर्जा लेखांकन, बिलिङ, सेटलमेन्ट, कन्जेसन व्यवस्थापन र विवाद समाधानका विषय स्पष्ट नभए ओपन एक्सेस प्रभावकारी हुन नसक्ने देखिन्छ।

ओपन एक्सेस प्रभावकारी भए उत्पादकले विद्यमान प्रसारण प्रणाली प्रयोग गरी आफ्ना ग्राहकसम्म विद्युत् पुर्‍याउन सक्नेछन्। यसले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष व्यापारिक सम्बन्ध विकास गर्न र विद्युत् बिक्रीमा एउटै संस्थामाथिको निर्भरता घटाउन सहयोग गर्न सक्छ।

यसबाट रिट्रेडिङ र प्रतिस्पर्धी विद्युत् व्यापारको सम्भावना पनि बढ्नेछ। नेपाल पावर ट्रेडिङ कम्पनी सञ्चालनमा आइसकेको अवस्थामा निजी क्षेत्रलाई समेत विद्युत् व्यापारमा प्रवेश गराउने बहस अघि बढेको छ। तर निजी ट्रेडिङ कम्पनीलाई अनुमति दिँदैमा मात्र प्रतिस्पर्धी बजार नबन्ने र त्यसका लागि समान ग्रिड पहुँच, पारदर्शी शुल्क, स्पष्ट व्यापारिक नियम, सम्झौताको सुरक्षा तथा नियामकीय स्थिरता आवश्यक पर्ने सरोकारवालाहरू बताउँछन्।

ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार नेपालको ऊर्जा क्षेत्रका संस्थाहरू स्थापना हुँदा विद्युत्लाई मुख्यतः विकास र सामाजिक सेवाको साधनका रूपमा हेरिएको थियो। त्यसबेला प्राथमिकता विद्युतीकरण विस्तार गर्ने र ऊर्जा अभाव हटाउने थियो। अहिले विद्युत् रणनीतिक आर्थिक सम्पत्ति र व्यापारिक वस्तुका रूपमा विकास हुँदै गएकाले ऊर्जा क्षेत्रमा बजारसम्बन्धी विज्ञता र जनशक्तिको आवश्यकता बढेको छ।

उत्पादन र प्रणाली सञ्चालनका लागि इन्जिनियर आवश्यक भएजस्तै अब मूल्य विश्लेषक, बजार विश्लेषक, व्यापार विशेषज्ञ र अन्तर्राष्ट्रिय विद्युत् बजार बुझ्ने जनशक्ति पनि आवश्यक हुने देखिएको छ। उत्पादन बढेसँगै ऊर्जा क्षेत्रका संस्थाहरूको सोच र संरचना पनि बजारमुखी हुनुपर्ने अवस्था आएको छ।

नेपालले ठूलो परिमाणमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। तर उत्पादन बढाउन गरिएको लगानी सुरक्षित गर्न बजार सुनिश्चित हुनुपर्छ। करिब ७ हजार मेगावाटको पीपीए भइसकेको र थप हजारौँ मेगावाटका आयोजना निर्माण तथा पीपीएको प्रक्रियामा रहेको अवस्थामा निजी क्षेत्र र सर्वसाधारणको ठूलो पुँजी जलविद्युत्मा जोडिएको छ।

यदि आन्तरिक खपत बढेन र निर्यात बजार पनि पर्याप्त विस्तार भएन भने वर्षायाममा ठूलो परिमाणको विद्युत् खेर जाने जोखिम रहन्छ। त्यसैले उत्पादनसँगै खपत र निर्यात दुवै विस्तार गर्नुपर्ने देखिन्छ।

नेपालले सन् २०३५ सम्म ठूलो परिमाणमा विद्युत् उत्पादन र खपत गर्ने लक्ष्य अघि सारेको छ। लक्ष्यअनुसार करिब १३ हजार ५ सय मेगावाट स्वदेशमै खपत गर्ने र करिब १५ हजार मेगावाट निर्यात गर्ने योजना छ। तर उत्पादन लक्ष्य पूरा भएपछि त्यसअनुसार बजार सुनिश्चित गर्ने चुनौती पनि उत्तिकै ठूलो हुनेछ।

उद्योग, विद्युतीय यातायात, विद्युतीय खाना पकाउने प्रणाली, सिँचाइ, डेटा सेन्टरलगायत क्षेत्रमा विद्युत् खपत बढाउन सके आन्तरिक बजार विस्तार गर्न सकिने विज्ञहरूको सुझाव छ। निर्यातमा मात्र निर्भर हुँदा बजार र मूल्यसम्बन्धी जोखिम रहने भएकाले स्वदेशमै विद्युत् खपत बढाउनुपर्नेमा जोड दिइएको छ।

उत्पादन विस्तारसँगै प्रसारण पूर्वाधार निर्माण पनि अर्को ठूलो चुनौती हो। सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् प्रणालीमा समाहित गर्न आगामी दशकमा करिब ६ खर्ब रुपैयाँसम्म प्रसारण पूर्वाधारमा लगानी आवश्यक पर्न सक्ने अनुमान गरिएको छ।

प्रसारण पूर्वाधार निर्माणका लागि लगानी जुटाउनु मात्र पर्याप्त हुँदैन। जग्गा प्राप्ति, वन क्षेत्र, वातावरणीय स्वीकृति, स्थानीय तहसँगको समन्वय, ठेक्का प्रक्रिया, उपकरण खरिद र प्राविधिक जनशक्तिको व्यवस्थापनले आयोजना निर्माणको समय प्रभावित गर्न सक्छ।

नेपाल विद्युत् प्राधिकरण र राष्ट्रिय ग्रिड कम्पनीबीच प्रसारण पूर्वाधार निर्माणको जिम्मेवारीसमेत स्पष्ट गर्नुपर्ने आवश्यकता देखिएको छ। एउटै क्षेत्रमा समानान्तर संरचना निर्माण हुँदा स्रोतको दोहोरो प्रयोग र संस्थागत द्वन्द्वको जोखिम हुन सक्छ।

नेपालको अतिरिक्त विद्युत्को मुख्य सम्भावित बजार भारत हो। नेपालको आन्तरिक बजारले ठूलो परिमाणको विद्युत् खपत गर्न नसक्ने अवस्थाका कारण विद्युत्लाई निर्यातयोग्य वस्तुका रूपमा विकास गर्ने नीति अघि बढाइएको हो।

भारतसँग विद्युत् व्यापार विस्तारका लागि राजनीतिक तथा कूटनीतिक संवाद, ऊर्जा मन्त्रालयस्तरीय छलफल, लगानी र प्रसारणसम्बन्धी सहकार्य हुँदै आएको छ। अहिले भारत नेपालको अतिरिक्त विद्युत्का लागि प्रमुख बजार बनेको छ।

ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार भारतलाई विद्युत् बिक्री गर्ने बजारका रूपमा मात्र नभई क्षेत्रीय ऊर्जा बजारमा प्रवेश गर्ने माध्यमका रूपमा उपयोग गर्नुपर्ने अवस्था छ। भारतमा औद्योगिकीकरण, विद्युतीकरण, डेटा सेन्टर र एआईसँग सम्बन्धित पूर्वाधार विस्तार भइरहेकाले आगामी वर्षमा विद्युत्को माग थप बढ्न सक्ने अनुमान छ।

सौर्य र वायु ऊर्जाको उत्पादन मौसम तथा समयअनुसार परिवर्तन हुने भएकाले जलविद्युत्ले प्रणालीलाई आवश्यक लचकता दिन सक्ने नेपालको सम्भावना छ। त्यसैले नेपालले आवश्यक समयमा विद्युत् उपलब्ध गराउन सक्ने लचकदार ऊर्जा स्रोतका रूपमा जलविद्युत्को भूमिका स्थापित गर्नुपर्ने देखिन्छ।

भारतपछि बंगलादेश पनि नेपालको विद्युत् निर्यातका लागि महत्वपूर्ण बजार बनेको छ। तर बंगलादेशसँगको विद्युत् व्यापार पनि भारतको प्रसारण प्रणालीमा निर्भर छ। त्यसैले बंगलादेशलाई महत्वपूर्ण बजारका रूपमा विकास गर्दै भारत हुँदै दक्षिण एसियाली क्षेत्रीय बजारमा पहुँच विस्तार गर्नुपर्ने अवस्था छ।

दीर्घकालमा भारत र श्रीलंकाबीचको सम्भावित ग्रिड अन्तरसम्बन्धमार्फत नेपाल–भारत–श्रीलंका विद्युत् व्यापारको सम्भावना पनि देखिन्छ। तर यो तत्कालको बजार भने होइन।

विद्युत् निर्यातसँगै स्वदेशमा खपत बढाउने विषयलाई पनि प्राथमिकता दिनुपर्ने विज्ञहरूको सुझाव छ। नेपालमै ठूलो परिमाणमा विद्युत् खपत गर्ने उद्योग स्थापना गर्न सके जलविद्युत्ले रोजगारी, औद्योगिक उत्पादन र आर्थिक वृद्धिमा प्रत्यक्ष योगदान दिन सक्छ।

तर उद्योग र विद्युत् आयोजना निर्माणमा वन, जग्गा, वातावरणीय स्वीकृति तथा अन्य प्रशासनिक प्रक्रियाले लागत र समय बढाउने समस्या कायमै छ। ऊर्जा, वन, भूमि, उद्योग र वातावरणसम्बन्धी नीति समन्वयपूर्ण रूपमा अघि बढाउन नसके उत्पादन बढे पनि आन्तरिक खपत विस्तार हुन कठिन हुने देखिन्छ।

ऊर्जा क्षेत्रमा निजी लगानी बढ्दै गएकाले लगानीकर्ताका लागि बजारको स्थिरता महत्वपूर्ण बनेको छ। आयोजना निर्माण गर्नुअघि विद्युत् कहाँ बिक्री गर्ने, प्रसारण लाइन उपलब्ध हुन्छ कि हुँदैन, मूल्य कस्तो हुन्छ, कर व्यवस्था कस्तो हुन्छ, स्वीकृति प्रक्रियामा कति समय लाग्छ र नियामकीय व्यवस्था कति स्थिर हुन्छ भन्ने विषय लगानीकर्ताले स्पष्ट रूपमा बुझ्न सक्नुपर्ने हुन्छ।

त्यसैले लगानीमैत्री वातावरण कर छुट र सहुलियतमा मात्र सीमित नभई नीति स्थिरता, बजार पहुँच, प्रसारण सुनिश्चितता, नियामकीय स्पष्टता र आयोजना कार्यान्वयनको पूर्वानुमानयोग्य समयसीमासँग जोडिएको विषय बनेको छ।

ठूलो परिमाणमा विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न क्रस बोर्डर विद्युत् व्यापार विस्तार गर्नुपर्ने आवश्यकता पनि बढेको छ। भारतको विद्युत् एक्सचेन्ज बजारलगायत क्षेत्रीय बजारमा पहुँच विस्तार गर्न सके नेपाल केही सीमित द्विपक्षीय सम्झौतामा मात्र निर्भर रहनुपर्ने अवस्थाबाट बाहिर आउन सक्छ।

कर्णाली, पश्चिम सेती, भेरीलगायत ठूला आयोजना र ऊर्जा करिडोरलाई क्षेत्रीय विद्युत् बजारसँग जोड्न सकिए नेपालको विद्युत् व्यापारको आकार थप विस्तार हुन सक्छ।

यसले नेपालको ऊर्जा क्षेत्रको प्राथमिकता नै परिवर्तन गर्नेछ। हिजो मुख्य चुनौती विद्युत् उत्पादन र आपूर्ति थियो। अहिले चुनौती उत्पादन भएको विद्युत्लाई समयमै प्रसारण गर्ने, स्वदेशमा खपत बढाउने, बजारमा प्रतिस्पर्धा ल्याउने र क्षेत्रीय बजारमा बिक्री गरेर आर्थिक मूल्य सिर्जना गर्ने बनेको छ।

लोडसेडिङ अन्त्य गरेर उत्पादन बढाउने चरण पार गरेको नेपालको ऊर्जा क्षेत्र अब बजार निर्माणको चरणमा प्रवेश गरेको छ।

आगामी दशकमा ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको प्रतिफल कति प्राप्त हुन्छ भन्ने कुरा उत्पादन क्षमताले मात्र होइन, प्रसारण पूर्वाधार, घरेलु खपत, विद्युत् व्यापार र क्षेत्रीय बजारमा नेपालको पहुँचले निर्धारण गर्नेछ।

क्रेन नहुँदा महाकाली राजमार्ग अवरुद्ध

बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिकामा ट्रेलर सडकबाट लिक बाहिर गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ।

मधेस प्रदेश ०३ ००२ ख ४२३१ नम्बरको ट्रेलर बिहान करिब साढे ९ बजेतिर सडकबाट बाहिरिएर राजमार्गमै अड्किएको हो। ट्रेलर हटाउन आवश्यक क्रेन उपलब्ध नहुँदा लामो समयदेखि सडक सञ्चालनमा आउन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार उक्त ट्रेलर दार्चुलास्थित मार्मा हाइड्रोपावरका लागि फलामका पाता बोकेर गइरहेको थियो। दोगडाकेदार क्षेत्रमा पुगेपछि ट्रेलर सडकबाट लिक बाहिरिएर राजमार्ग अवरुद्ध भएको उनले जानकारी दिए।

सडक डिभिजन कार्यालयका प्रमुख किरण सुवेदीका अनुसार लोडसहितको ट्रेलर हटाउन ठूलो क्षमताको क्रेन आवश्यक पर्ने भएकाले कार्यालयको उपकरणबाट तत्काल हटाउन सम्भव छैन।

उनका अनुसार सम्बन्धित हाइड्रोपावर कम्पनीलाई आफ्नै व्यवस्थापनमा क्रेन ल्याएर ट्रेलर हटाउन भनिएको छ।

राजमार्ग अवरुद्ध भएपछि दार्चुलाबाट छुटेका छोटो तथा लामो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन्।

सडक खुलाउन ट्रेलर हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

‘संसार बदल्न खोज्ने तर आफू बदलिन नखोज्ने प्रवृत्ति खतरनाक हुन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवरले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नागरिक चेतना, मानवीय संवेदना र जिम्मेवारी बोध कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा विचार सार्वजनिक गर्दै कुँवरले प्रविधिको विकाससँगै मानिसको अभिव्यक्ति सहज भए पनि त्यसको प्रयोग गर्ने संस्कार र जिम्मेवारीमा भने प्रश्न उठ्न थालेको बताएकी हुन्।

उनले सामाजिक सञ्जालमा व्यक्त हुने कतिपय अभिव्यक्तिले मानवीय संवेदनशीलता हराउँदै गएको देखाउने उल्लेख गरेकी छन्। ‘सञ्जालले सहज बनाएको हाम्रो अभिव्यक्ति र त्यही सञ्जालले जन्माएको हाम्रो राक्षसी मानसिकता देख्दा कहिलेकाहीँ लाग्छ, हामीले प्रविधि त धेरै छिटो सिक्यौँ, तर मान्छे भएर बाँच्न भने बिर्सिंदै गयौँ,’ उनले लेखेकी छन्।

कुँवरले मानिसको सोच र बुझाइ समयसँगै परिवर्तन हुने बताउँदै उमेर, परिवेश र जीवनका विभिन्न घटनाले व्यक्तिको दृष्टिकोण निर्माण गर्ने धारणा राखेकी छन्। त्यसैले अरूको जीवन, विचार वा निर्णयमाथि टिप्पणी गर्नुअघि आफूले समाज र आफ्नै जिम्मेवारीप्रति पर्याप्त ध्यान दिएको छ कि छैन भन्ने प्रश्न गर्नुपर्ने उनको भनाइ छ।

उनले देशमा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता विषयसँगै नागरिक चेतना र जिम्मेवारी बोधलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएकी छन्।

अधिकार र स्वतन्त्रताको चर्चा गर्दा आफ्नो जिम्मेवारीलाई बिर्सन नहुनेमा पनि उनले जोड दिएकी छन्। सामाजिक सञ्जालमा आफूलाई लागेको कुरा बोल्न पाउने अधिकार भए पनि त्यसले अरू व्यक्तिको सम्मान, अस्तित्व र स्वतन्त्रतामाथि असर पार्न नहुने उनको तर्क छ।

कुँवरले प्रश्न गरेकी छन्, ‘हामी साँच्चिकै स्वतन्त्र हुँदैछौँ कि आफ्ना शब्दहरूलाई स्वतन्त्र बनाउँदैछौँ ? हामी साँच्चिकै चेतनशील हुँदैछौँ कि अरूको जीवनमा निर्णय सुनाउन मात्र अभ्यस्त हुँदैछौँ ?’

उनका अनुसार स्वतन्त्रता आफूले बोल्न पाउने अधिकारमा मात्र सीमित हुँदैन। अरू व्यक्तिलाई पनि आफ्नै अस्तित्व र पहिचानसहित बाँच्न दिने संस्कार विकास हुनु वास्तविक स्वतन्त्रताको आधार हो।

सामाजिक परिवर्तनका नाममा अरूलाई बदल्न खोज्ने तर आफूभित्र परिवर्तन गर्न नचाहने प्रवृत्तिलाई उनले खतरनाक भनेकी छन्। समाज परिवर्तनको सुरुवात व्यक्तिको आफ्नै व्यवहार र सोचबाट हुनुपर्ने उनको धारणा छ।

‘संसार बदल्न खोज्ने तर आफू बदलिन नखोज्ने प्रवृत्ति खतरनाक हुन्छ,’ उनको भनाइ छ। समाजलाई बदल्नुअघि आफूलाई बदल्न सके मात्र स्वतन्त्रता र चेतनाको वास्तविक अर्थ व्यवहारमा देखिने उनको निष्कर्ष छ।

सामाजिक सञ्जालको प्रयोग व्यापक बन्दै गएको समयमा सार्वजनिक अभिव्यक्तिमा देखिने असहिष्णुता, व्यक्तिगत टिप्पणी र अरूको जीवनमाथि अनावश्यक हस्तक्षेपप्रति उनको टिप्पणीलाई नागरिक जिम्मेवारी र डिजिटल संस्कारसँग जोडेर हेर्न सकिन्छ।

मानार्थ महारथीको दर्जा लिन मात्रै कि अरू पनि?

काठमाडौं। भारतीय स्थल सेनाका प्रधानसेनापति जनरल धिराज सेठ आइतबार काठमाडौं आउँदैछन्।

प्रधानसेनापति बनेपछि उनको यो पहिलो नेपाल भ्रमण हो। उनी  आइतवार अपराह्न करिब ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।

औपचारिक रूपमा उनको भ्रमणको मुख्य उद्देश्य नेपालका राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जा ग्रहण गर्नु हो। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजना हुने विशेष समारोहमा सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन्।

तर पाँचदिने नेपाल भ्रमणलाई मानार्थ महारथीको दर्जा ग्रहण गर्ने औपचारिक कार्यक्रममै सीमित गरेर हेर्न सकिने अवस्था छैन।

प्रधानसेनापति बनेको करिब डेढ महिनामै नेपाललाई पहिलो विदेश गन्तव्य बनाउनु र नयाँ नेपाली प्रधानसेनापति जनरल अशोकराज सिग्देलको निमन्त्रणामा आउनुले भ्रमणलाई सैन्य सम्बन्धको नियमित प्रोटोकलभन्दा केही बढी अर्थपूर्ण बनाएको छ।

भारतीय सेनाका अनुसार भ्रमणका क्रममा नेपाल-भारतबीचको परम्परागत सैन्य सम्बन्धलाई निरन्तरता दिने तथा द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल हुनेछ। काठमाडौं बसाइँका क्रममा सेठले नेपाली सेनाका प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गर्नेछन्।

भेटमा दुई देशका सेनाबीचको सहयोग, तालिम, संयुक्त सैन्य अभ्यास, विपद् व्यवस्थापन, शान्ति स्थापना तथा अन्य सैन्य सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल र भारतका सेनाबीच उच्च तहमा नियमित सम्पर्क रहँदै आएको छ। नयाँ प्रधानसेनापति नियुक्त भएपछि एकअर्काको देशमा भ्रमण गर्ने तथा मानार्थ महारथीको दर्जा दिने परम्परा पनि यही सम्बन्धको महत्वपूर्ण हिस्सा हो। सन् १९५० देखि कायम रहेको यो परम्पराअनुसार भारतीय प्रधानसेनापति सेठले नेपालबाट मानार्थ महारथीको दर्जा पाउन लागेका हुन्।

यसअघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन्। सन् २०२४ डिसेम्बरमा भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई भारतीय सेनाको मानार्थ जनरलको दर्जा प्रदान गरेकी थिइन्।

तर यसपटक सेठको भ्रमणलाई चासोका साथ हेरिनुको अर्को कारण नेपालको बदलिएको राजनीतिक परिवेश पनि हो। नयाँ सरकार गठनपछिको अवस्थामा भारतका उच्च सुरक्षा अधिकारी नेपाल आउन लागेका छन्। त्यसैले उनले नेपाली राजनीतिक तथा सुरक्षा नेतृत्वसँग गर्ने भेटवार्ता र उठाउने विषयमा पनि चासो बढेको छ।

सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने चर्चा रहे पनि प्रधानमन्त्रीसँगको भेट भ्रमण तालिकामा औपचारिक रूपमा निश्चित भइसकेको स्पष्ट विवरण सार्वजनिक भएको छैन।

परम्परागत रूपमा नेपाल आउने भारतीय सेनापतिले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने गरेका कारण यसपटक त्यो भेट हुन्छ कि हुँदैन भन्ने विषय पनि चासोको विषय बनेको छ।

प्रधानमन्त्रीसँग भेट भएमा सैन्य सहकार्यसँगै दुई देशबीचको समग्र सुरक्षा सम्बन्धका विषयमा समेत छलफल हुन सक्ने अनुमान गरिएको छ।

यद्यपि त्यसलाई राजनीतिक सन्देशका रूपमा व्याख्या गर्नुअघि दुवै पक्षबाट सार्वजनिक हुने औपचारिक एजेन्डा र भेटवार्ताका विषयलाई आधार मान्नुपर्ने हुन्छ।

सेठले सैनिक मञ्च टुँडिखेल पुगेर वीर सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि छ। त्यसपछि उनले प्रधानसेनापति सिग्देलसँग औपचारिक भेटवार्ता गर्नेछन्।

करिब चार दशक लामो सैनिक सेवामा रहेका सेठले भारतीय सेनाका उपप्रधानसेनापति तथा दक्षिणी कमान्डका कमान्डरलगायत महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। उनले गत जुन ३० मा भारतीय सेनाको ३१औँ प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका हुन्।

त्यसैले सेठको नेपाल भ्रमणलाई एकातिर दुई देशका सेनाबीचको पुरानो परम्पराको निरन्तरता मान्न सकिन्छ भने अर्कोतिर नयाँ सैन्य नेतृत्वबीच आगामी सहकार्यको दिशा तय गर्ने अवसरका रूपमा पनि हेरिएको छ।

मानार्थ महारथीको दर्जा ग्रहण गर्नु भ्रमणको औपचारिक कारण भए पनि पाँच दिनको बसाइँमा हुने उच्चस्तरीय भेटवार्ता र छलफलले भ्रमणको वास्तविक महत्व निर्धारण गर्नेछ।

कम्युनिष्ट आन्दाेलनकाे पुनर्जागरणका लागि निर्मम समिक्षा आवश्यक : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालका कम्युनिष्ट पार्टीहरू संघर्ष र विद्रोहका मोर्चामा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने कमजोर देखिएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था र आगामी दिशाबारे धारणा सार्वजनिक गर्दै पोखरेलले आन्दोलनको ‘निर्मम समीक्षा’ आवश्यक रहेको बताएका छन्। उनले क्रान्तिपूर्व सरकारलाई शक्ति सञ्चय गर्ने आधारका रूपमा लिने कम्युनिष्ट मान्यता व्यवहारमा प्रभावकारी रूपमा लागू हुन नसकेको स्वीकार गरेका छन्।

सरकारमा पुगेपछि जनसमर्थन र राजनीतिक शक्ति बढ्नुपर्नेमा उल्टै जनमत क्षयीकरण हुँदै जानु कम्युनिष्ट आन्दोलनको प्रमुख चुनौती बनेको पोखरेलको भनाइ छ।

उनले कम्युनिष्ट नेतृत्वमा सरकार बनेका बेला देशभक्ति, पूर्वाधार विकास तथा सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम भए पनि त्यसको राजनीतिक लाभ जनमतमा रूपान्तरण हुन नसकेको बताएका छन्।

पोखरेलका अनुसार नेपालको कम्युनिष्ट इतिहासमा २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको अल्पमत सरकार र २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको नौमहिने सरकारले मात्र सरकारमा रहँदा जनसमर्थन बढाउन सकेका थिए।

उनले २०८२ सालमा वामपन्थी आन्दोलनले असाधारण धक्का बेहोरेको उल्लेख गर्दै अब पुरानै शैली र कार्यशैलीबाट कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन्।

आधारभूत वर्ग र समुदायका जनता किन कम्युनिष्ट पार्टीबाट टाढिँदै गइरहेका छन् भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै, नेता तथा कार्यकर्तामा सामाजिक परिवर्तनप्रतिको हुटहुटी किन कमजोर हुँदै गयो भन्ने प्रश्नको समेत खोजी गर्नुपर्ने उनले बताएका छन्।

पोखरेलले कम्युनिष्ट आन्दोलनको पुनर्जागरणका लागि समस्याबाट भाग्नेभन्दा त्यसको कारण पहिचान गरी समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

‘हरेक समस्याका पछाडि कुनै न कुनै कारण हुन्छ र त्यसको समाधान पनि त्यसमै निहित हुन्छ । यो मार्क्सवादी मान्यता हो,’ उनले भनेका छन्, ‘तसर्थ समस्या छ भनेर भाग्ने होइन, सामना गरेर अघि बढ्ने हो।’

उनको पछिल्लो अभिव्यक्तिलाई एमाले महासचिव पोखरेलले आफ्नै पार्टीसहित समग्र नेपाली कम्युनिष्ट आन्दोलनको राजनीतिक कार्यदिशा, कार्यशैली र जनसम्बन्धबारे आत्मसमीक्षाको आवश्यकता औंल्याएको रूपमा हेरिएको छ।

गायिका बोनी टाइलरलाई अन्तिम बिदाइ

काठमाडौं। विश्वप्रसिद्ध गीत ‘टोटल इक्लिप्स अफ द हार्ट’की गायिका बोनी टाइलरको पार्थिव शरीर उनको जन्मभूमि वेल्स ल्याइएपछि शनिबार सयौं प्रशंसकले सडकमा उभिएर अन्तिम श्रद्धाञ्जली दिए।

७५ वर्षको उमेरमा गत जुलाई ८ मा पोर्चुगलको फारोस्थित अस्पतालमा निधन भएकी टाइलरको कफिन वेल्सको झन्डाले ढाकेर मम्बल्स क्षेत्रमा ल्याइएको थियो। उनको अन्तिम यात्रा हेर्न स्थानीय बासिन्दासँगै बेलायतका विभिन्न स्थानबाट प्रशंसकहरू पुगेका थिए।

मम्बल्सका सडकमा मानिसहरू लामबद्ध भएर टाइलरको कफिन बोकेको शववाहनलाई नियालेका थिए। कतिपयले फूलका गुच्छा लिएर श्रद्धाञ्जली अर्पण गरेका थिए भने केहीले उनका चर्चित गीत सम्झिँदै सम्मान व्यक्त गरेका थिए। उनको पूर्वनिवास आसपास पनि प्रशंसकको उल्लेख्य उपस्थिति थियो।

टाइलरको निधनपछि उनको पार्थिव शरीर पहिलोपटक गृहक्षेत्रमा ल्याइएको हो। शनिबारको कार्यक्रम औपचारिक अन्त्येष्टि नभई सार्वजनिक रूपमा श्रद्धाञ्जली व्यक्त गर्ने अवसरका रूपमा आयोजना गरिएको थियो।

टाइलर पोर्चुगलको फारोमा बस्दै आएकी थिइन्। गत मे महिनामा उनलाई आन्द्रासम्बन्धी आकस्मिक शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको स्वास्थ्यमा जटिलता देखिएपछि जुलाई ८ मा उनको निधन भएको थियो।

परिवारले उनको निधनको पुष्टि गरेपछि विश्वभरका संगीतकर्मी, प्रशंसक र सांगीतिक संस्थाहरूले टाइलरप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

बोनी टाइलरको वास्तविक नाम गायनर हप्किन्स थियो। उनको जन्म सन् १९५१ जुन ८ मा वेल्सको स्क्युएनमा भएको थियो। कोइला खानीमा काम गर्ने परिवारमा जन्मिएकी उनी तीन दिदीबहिनी र दुई दाजुभाइसँग हुर्किएकी थिइन्।

बाल्यकालदेखि नै संगीतप्रति रुचि राख्ने टाइलरले स्थानीय स्तरबाट गायन यात्रा सुरु गरेकी थिइन्। सन् १९७० को दशकमा ‘लस्ट इन फ्रान्स’ र ‘इट्स अ हार्टएक’ जस्ता गीतमार्फत उनको नाम बेलायतबाहिर समेत फैलिन थालेको थियो।

उनको सबैभन्दा ठूलो विशेषता भनेको उनको आवाज थियो। गहिरो, कर्कश र शक्तिशाली स्वरले उनलाई समकालीन पप तथा रक गायिकाभन्दा फरक बनाएको थियो। स्वरसम्बन्धी समस्याका कारण सन् १९७० को दशकमा गरिएको शल्यक्रियापछि उनको आवाज अझ कर्कश बनेको थियो। पछि यही स्वर उनको सांगीतिक पहिचानको प्रमुख हिस्सा बन्यो।

टाइलरको सांगीतिक करिअरको सबैभन्दा ठूलो सफलता सन् १९८३ मा आयो। अमेरिकी गीतकार तथा संगीतकार जिम स्टाइनम्यानले लेखेको ‘टोटल इक्लिप्स अफ द हार्ट’ टाइलरको आवाजमा सार्वजनिक भएपछि विश्वभर लोकप्रिय भयो।

गीत बेलायत र अमेरिकालगायत प्रमुख संगीत बजारका चार्टमा शीर्ष स्थानमा पुग्यो। नाटकीय संगीत, शक्तिशाली स्वर र प्रभावशाली भिडियोका कारण गीतले १९८० को दशकको पप संगीतमा विशेष स्थान बनायो।

दशकौं बितिसक्दा पनि उक्त गीतको लोकप्रियता घटेको छैन। विशेषगरी सूर्यग्रहणका समयमा गीतको शीर्षक र विषयवस्तुका कारण यसको चर्चा पुनः बढ्ने गरेको छ। सन् २०२४ को उत्तर अमेरिकी सूर्यग्रहणका क्रममा पनि गीत व्यापक रूपमा सुनिएको थियो। गीतले डिजिटल स्ट्रिमिङ प्लेटफर्ममा एक अर्बभन्दा बढी स्ट्रिम पार गरिसकेको बताइएको छ।

टाइलरलाई ‘टोटल इक्लिप्स अफ द हार्ट’ले विश्वव्यापी ख्याति दिलाए पनि उनको परिचय त्यही एउटा गीतमा सीमित थिएन।

सन् १९७७ मा सार्वजनिक भएको ‘इट्स अ हार्टएक’ उनको प्रारम्भिक अन्तर्राष्ट्रिय सफलतामध्ये प्रमुख थियो। गीत बेलायत, अमेरिका र अन्य मुलुकमा अत्यधिक लोकप्रिय भयो।

त्यसैगरी ‘होल्डिङ आउट फर अ हिरो’ले उनको रक तथा पप संगीतको पहिचानलाई थप बलियो बनायो। चलचित्र ‘फुटलुस’मा समावेश भएपछि यो गीतले अन्तर्राष्ट्रिय रूपमा थप लोकप्रियता हासिल गर्‍यो।

लामो सांगीतिक यात्रामा टाइलरले १८ वटा स्टुडियो एल्बम सार्वजनिक गरेकी थिइन्। उनको अन्तिम स्टुडियो एल्बम ‘द बेस्ट इज यट टु कम’ सन् २०२१ मा सार्वजनिक भएको थियो। पछिल्ला वर्षमा पनि उनी संगीतबाट टाढा भएकी थिइनन्।

टाइलर तीनपटक प्रतिष्ठित ग्रामी अवार्डका लागि मनोनयनमा परेकी थिइन्। उनको विशिष्ट स्वर र रक तथा पप संगीतमा पुर्‍याएको योगदानले उनलाई अमेरिकी संगीत बजारमा समेत बलियो पहिचान दिलाएको थियो।

उनले आफ्नो करिअरमा विभिन्न अन्तर्राष्ट्रिय कलाकारसँग सहकार्य गरेकी थिइन्। लामो समयसम्म मञ्चमा सक्रिय रहेकी टाइलरले आफ्नो विशिष्ट प्रस्तुति र आवाजका कारण विश्वभर ठूलो प्रशंसक वर्ग बनाएकी थिइन्।

सन् २०१३ मा टाइलरले युरोभिजन गीत प्रतियोगितामा बेलायतको प्रतिनिधित्व गरेकी थिइन्। उनले ‘बिलिभ इन मी’ गीत प्रस्तुत गरेकी थिइन् र प्रतियोगितामा १९औं स्थान हासिल गरेकी थिइन्।

युरोभिजनमा सहभागी हुँदा उनी दशकौं लामो सांगीतिक करिअर बनाइसकेकी स्थापित कलाकार थिइन्। त्यसैले उनको सहभागिता बेलायतको सांगीतिक इतिहासमा परिचित कलाकारको अन्तर्राष्ट्रिय मञ्चमा पुनरागमनका रूपमा पनि हेरिएको थियो।

संगीत क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानस्वरूप टाइलरलाई ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ अर्थात् एमबीई सम्मान प्रदान गरिएको थियो।

उनको एमबीई सम्मान सन् २०२२ को ‘क्वीन्स बर्थडे अनर्स’मा घोषणा गरिएको थियो भने सम्मान औपचारिक रूपमा सन् २०२३ मा प्रदान गरिएको थियो।

टाइलरको औपचारिक अन्तिम बिदाइका लागि सोमबार स्वान्जी मिन्स्टरमा उनको जीवन र सांगीतिक यात्राको सम्झनामा विशेष कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा परिवार, आफन्त तथा निम्त्याइएका व्यक्तिहरू सहभागी हुनेछन्।

सर्वसाधारणले भने सेन्ट डेभिड्स स्क्वायरमा राखिने ठूलो पर्दामार्फत कार्यक्रम हेर्न सक्ने व्यवस्था गरिएको छ। कार्यक्रमपछि उनको कफिन जन्मस्थान स्क्युएनतर्फ लगिनेछ। त्यसपछि परिवारको उपस्थितिमा निजी रूपमा अन्तिम संस्कार गरिनेछ।

शनिबार मम्बल्समा देखिएको जनसहभागिताले टाइलरको वेल्ससँग रहेको गहिरो सम्बन्धलाई समेत उजागर गरेको छ। विश्वभर ख्याति कमाएकी भए पनि उनले आफ्नो जन्मभूमिसँगको सम्बन्धलाई निरन्तर कायम राखेकी थिइन्।

बोनी टाइलरको सांगीतिक यात्रा सामान्य वेल्सेली परिवारबाट विश्व संगीतको मञ्चसम्म पुगेको प्रेरणादायी कथा हो। विशिष्ट कर्कश आवाजलाई उनले आफ्नै पहिचान बनाइन् र त्यही आवाजमार्फत पप, रक तथा ब्यालाड संगीतमा छुट्टै स्थान स्थापित गरिन्।

‘इट्स अ हार्टएक’ले उनलाई अन्तर्राष्ट्रिय बजारमा चिनायो, ‘टोटल इक्लिप्स अफ द हार्ट’ले विश्वस्तरीय स्टार बनायो भने ‘होल्डिङ आउट फर अ हिरो’ले उनको रक गायिकाको छविलाई थप बलियो बनायो।

टाइलरको निधनसँगै अन्तर्राष्ट्रिय संगीतले एउटा विशिष्ट आवाज गुमाएको छ। तर उनका चर्चित गीतहरू आज पनि विश्वभर सुनिन्छन्। विशेषगरी ‘टोटल इक्लिप्स अफ द हार्ट’ पुस्तौंसम्म लोकप्रिय रहने गीतका रूपमा स्थापित भइसकेको छ।

त्यसैले बोनी टाइलरको भौतिक जीवनको अन्त्य भए पनि उनको आवाज र संगीतले उनलाई लामो समयसम्म संगीतप्रेमीको स्मृतिमा जीवित राख्नेछ।

डिजिटल पोस्टरको भीडमा ७३ वर्षीया चेतकुमारीको कुची

भक्तपुर । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी नजिकिँदै गर्दा भक्तपुरको याँछेस्थित नवदुर्गाको थछेंमा चहलपहल बढेको छ।

बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टर सहजै पाइन्छन्। तर ७३ वर्षीया चेतकुमारी चित्रकार भने अहिले पनि आफ्नै हातले नागका परम्परागत चित्र बनाउन व्यस्त छिन्।

उनको अगाडि नागको चित्र छ। हातमा कुची छ। छेउमै उनले परम्परागत विधिबाट आफैँ तयार पारेका रङ छन्। वरिपरि आधुनिक प्रविधिबाट छापिएका पोस्टरहरू भए पनि चेतकुमारीका लागि नागको एउटा चित्र तयार गर्नु सामान्य काम होइन। यो उनको जीवनसँग जोडिएको कला हो, पुर्खाले छाडेर गएको परम्परा हो र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कृति जोगाउने प्रयास हो।

२०१० सालमा जन्मिएकी चेतकुमारीले २१ वर्षको उमेरदेखि देवीदेवता र नागका मौलिक चित्र बनाउन थालेकी हुन्। नवदुर्गा गणका मुकुन्डा बनाउने पूर्ण चित्रकारसँग विवाह भएपछि ससुराको आग्रहमा उनले पुर्ख्यौली कामलाई निरन्तरता दिइन्। त्यसयता पाँच दशकभन्दा बढी समय उनको जीवन यही कलासँग जोडिएको छ।

नागपञ्चमीमा घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्ने परम्परा नेवा: समुदायमा पुरानै हो। नागको पूजा गरेमा सर्प, बिच्छीजस्ता विषालु जीवबाट जोगिनुका साथै चट्याङ, आगलागीजस्ता विपत्तिबाट समेत रक्षा हुने जनविश्वास छ।

घरको ढोकामा टाँसिने नागको चित्र हेर्दा सामान्य कागजको टुक्राजस्तो लाग्न सक्छ। तर त्यसको पछाडि पुस्तौँ पुरानो कला, सीप र धार्मिक विश्वास जोडिएको हुन्छ।

पहिले चेतकुमारी काठको ब्लक प्रयोग गरेर कागजमा हातैले नाग तथा देवीदेवताका चित्र छाप्थिन्। त्यसमा रङ भर्न पनि प्राकृतिक तथा परम्परागत विधिबाट तयार पारिएका रङ प्रयोग हुन्थे।

तर पछिल्लो करिब १५ वर्षयता बजारमा मेसिनबाट छापिएका तयारी पोस्टर सहज रूपमा उपलब्ध हुन थालेपछि हातले बनाइने मौलिक चित्रको माग घट्दै गएको छ। सस्तो, छिटो र सजिलै पाइने भएकाले धेरैको रोजाइ मेसिनबाट छापिएका पोस्टरतर्फ गएको चेतकुमारीको अनुभव छ।

यसले परम्परागत हस्तनिर्मित चित्रको बजार साँघुरो बनाउँदै लगेको छ।

उमेर बढ्दै गएपछि पहिलेझैँ लामो समयसम्म हातले काम गर्न कठिन हुन थालेपछि चेतकुमारीले प्रविधिलाई पनि आफ्नो सीपसँग जोडिन्। अहिले देवीदेवताका तस्बिर कम्प्युटरबाट श्यामश्वेत रूपमा छपाउँछिन् र त्यसमा आफ्नै हातले रङ भर्छिन्। रङ भने सकेसम्म परम्परागत विधिबाट आफैँ तयार पार्छिन्।

उनका लागि प्रविधि परम्पराको विकल्प होइन। बरु बदलिँदो समयमा पुरानो सीपलाई जोगाइराख्ने एउटा माध्यम बनेको छ।

चेतकुमारीको काम नागपञ्चमीका लागि नागचित्र बनाउनेमा मात्र सीमित छैन। एउटा पर्व सकिन नपाउँदै उनको अर्को पर्वका लागि तयारी सुरु हुन्छ।

नागपञ्चमीसँगै उनको वर्षभरिको कला यात्रा सुरु हुन्छ। त्यसपछि गाईजात्राका लागि आवश्यक चित्र तथा सामग्री तयार गर्नुपर्ने हुन्छ। चथापूजा अर्थात् गणेश चतुर्थीका लागि गणेशका मूर्ति तथा चित्र तयार पार्छिन्। दशैँका लागि देवीदेवताका चित्रमा रङ भर्न थाल्छिन्। दशैँ सकिन नपाउँदै तिहारका लागि लक्ष्मीका चित्र रंगाउन उनी व्यस्त हुन्छिन्।

यसरी उनका हात वर्षभरि नै कुनै न कुनै पर्व, संस्कृति र परम्परासँग जोडिइरहन्छन्।

उनले बनाउने चित्रमा रङ र आकृतिमात्र हुँदैनन्। त्यसमा नेवा: समुदायको धार्मिक विश्वास, सांस्कृतिक अभ्यास र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको कलाको कथा पनि जोडिएको हुन्छ।

बजारमा मेसिनबाट छापिएका आकर्षक पोस्टरको संख्या बढे पनि चेतकुमारीलाई हातले बनाएको चित्रको महत्व कम भएको लाग्दैन। उनका लागि हातले बनाएको चित्रमा मौलिकता र सांस्कृतिक मूल्य हुन्छ।

दशकौँदेखि गर्दै आएको कामलाई उनले केवल जीविकोपार्जनको माध्यमका रूपमा हेरेकी छैनन्। ससुराको आग्रहमा सुरु गरेको काम विस्तारै उनको जीवनको अभिन्न हिस्सा बन्यो। सुरुमा जिम्मेवारीका रूपमा थालेको काम पछि उनको रुचि र पहिचान बन्यो।

त्यसैले बजारमा माग घटे पनि उनले यो कला छाडिनन्। हरेक वर्ष नागपञ्चमी आउँदा उनी फेरि नागका चित्र बनाउन थाल्छिन्।

मेसिनबाट बनेका पोस्टरले बजार ढाकिरहँदा पनि आफ्नै हातले एउटा मौलिक चित्र तयार पारेर परम्पराको धागो नटुटोस् भन्ने उनको प्रयास हुन्छ।

चेतकुमारीको सबैभन्दा ठूलो चिन्ता बजारको कमी मात्र होइन, आफ्नो सीपको पुस्तान्तरण नहुनु पनि हो।

पाँच दशकभन्दा बढी समय लगाएर सिकेको सीप आफूपछि कसले सम्हाल्ने भन्ने उनलाई चिन्ता छ। परिवारका नयाँ पुस्ताका सदस्यले यो काममा खासै चासो नदेखाएको उनको अनुभव छ।

परम्परागत कला पुस्ताबाट पुस्तामा हस्तान्तरण हुँदै आएको हुन्छ। तर नयाँ पुस्ताको प्राथमिकता बदलिँदै गएको छ। डिजिटल प्रविधिले चित्र बनाउन र छाप्न सहज बनाएको छ। यस्तो अवस्थामा हातको सीप र परम्परागत ज्ञान हराउने जोखिम पनि बढेको छ।

चेतकुमारीको चिन्ता यहीँबाट सुरु हुन्छ,उनीपछि नागका मौलिक चित्र कसले बनाउला?

कुची समाउने हात रोकिएपछि, परम्परागत रङ तयार पार्ने अभ्यास हराएपछि र काठको ब्लकबाट हातैले चित्र छाप्ने सीप हराएपछि त्यसलाई फेरि पुरानै अवस्थामा फर्काउन सजिलो नहुन सक्छ।

त्यसैले नयाँ पुस्ताका कसैले यो कला सिकिदिए हुन्थ्यो भन्ने उनको चाहना छ।

डिजिटल प्रविधिले चित्र बनाउन निकै सजिलो बनाएको छ। कम्प्युटरमा केही क्षणमै डिजाइन तयार हुन्छ। मेसिनबाट सयौँ प्रति छाप्न सकिन्छ। तर चेतकुमारीको हातबाट तयार हुने एउटा चित्रमा प्रविधिले तुरुन्तै दिन नसक्ने कुरा छ—समय, श्रम, सीप र पुस्तौँको अनुभव।

आज उनका हातमा पहिलेको जस्तो बल छैन। आँखाले पनि लामो समयसम्म सूक्ष्म काम गर्न सहज मान्दैन। तर नागपञ्चमी नजिकिँदा उनको मनमा फेरि उही उत्साह जाग्छ।

हरेक वर्ष नागको चित्र बनाउनु उनका लागि एउटा काम पूरा गर्नु मात्र होइन। आफ्नो जीवनसँग जोडिएको परम्परालाई अर्को एक वर्षसम्म जीवित राख्नु पनि हो।

त्यसैले डिजिटल पोस्टरको भीडमा चेतकुमारीको हातले रंगिएको एउटा नागचित्र आफैँमा एउटा सांस्कृतिक दस्तावेज बनेको छ।

उनको कुची चलिरहेसम्म त्यो परम्परा पनि चलिरहेकै छ।

तर प्रश्न अझै उही छ,चेतकुमारीपछि त्यो कुची कसले समात्ने?

यही प्रश्नले नेपालको मौलिक हस्तकला संरक्षण र पुस्तान्तरणको आवश्यकता सम्झाउँछ।

चेतकुमारीजस्ता ज्येष्ठ कलाकारको सीप अभिलेखीकरण गर्ने, नयाँ पुस्तालाई सिकाउने र हस्तनिर्मित कलाका लागि बजार सिर्जना गर्ने प्रयास हुन सके मात्र डिजिटल युगमा पनि यस्ता मौलिक परम्परा हराउनबाट जोगाउन सकिन्छ।

 

देउवापक्षीय नेताको विद्रोहको संकेतले कांग्रेसमा बढ्यो विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्वको विवाद फेरि चर्किएको छ। विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका गगन थापालाई निवर्तमान सभापति शेरबहादुर देउवापक्षीय नेताहरूले सभापति मान्न अस्वीकार गरेपछि कांग्रेसभित्रको विवाद नयाँ मोडमा पुगेको छ।

देउवा सिंगापुरबाट हङकङ हुँदै नेपाल फर्किएलगत्तै उनीपक्षीय नेताहरूले गगन थापाको नेतृत्वमाथि प्रश्न उठाउँदै देउवा नै कांग्रेसको सभापति भएको दाबी गर्न थालेका हुन्। कृष्णप्रसाद सिटौला, मोहनबहादुर बस्नेत, विमलेन्द्र निधि र एनपी साउदलगायत देउवानिकट नेताहरूले गगनलाई सभापति स्वीकार नगर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन्।

२०८२ सालको पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापतिमा निर्वाचित भएका थिए। सोही प्रक्रियाबाट देउवा सभापतिबाट हटाइएका थिए। त्यसपछि गगन नेतृत्वको कांग्रेसले आफूलाई वैधानिक र आधिकारिक पार्टीका रूपमा अघि बढाउँदै आएको छ। तर देउवा पक्षले भने विशेष महाधिवेशनको प्रक्रिया र त्यसबाट भएको नेतृत्व परिवर्तनमाथि नै प्रश्न उठाउँदै आएको छ।

देउवा स्वदेश फर्किएपछि यो विवाद अझ सतहमा आएको हो। देउवापक्षीय नेताहरूले गगनलाई पार्टी सभापति भन्नसमेत आफूहरूलाई अप्ठ्यारो लाग्ने बताएका छन्।

नेता कृष्णप्रसाद सिटौलाले गगनलाई सभापति भन्दा पनि भाइ भन्न मन लाग्ने टिप्पणी गरेका छन्। गगनलाई पार्टीको सर्वोच्च नेतृत्वमा स्वीकार गर्न नसकिने संकेत गर्दै उनले देउवाको नेतृत्वप्रति आफ्नो समर्थन कायमै रहेको स्पष्ट पारे। ‘गगनलाई त सभापति होइन, भाइ भन्न मन लाग्छ,’सिटौला भन्छन्।  

त्यस्तै, नेता मोहनबहादुर बस्नेतले पनि कांग्रेसको नेतृत्वका लागि देउवा नै आवश्यक रहेको दाबी गरेका छन्। उनले ‘बोकाले दाइँ हुने भए गोरु नचाहिने’ उखानको उदाहरण दिँदै पार्टी सञ्चालनका लागि परिपक्व र अनुभवी नेतृत्व आवश्यक रहेको बताए।’बोकाले दाइँ हुने भए गोरु चाहिँदैन।’

बस्नेतले देउवा नेतृत्वमा रहँदा कांग्रेसले स्थानीय तहदेखि प्रदेश र संघीय संसदसम्म राम्रो राजनीतिक उपस्थिति बनाउन सफल भएको दाबी गरे। तर गगनको नेतृत्वमा कांग्रेस कमजोर र अस्तव्यस्त बनेको उनको आरोप छ।

उनका अनुसार कांग्रेसलाई पुनः बलियो बनाउन देउवाकै नेतृत्व आवश्यक छ। गगनको नेतृत्वलाई स्वीकार गर्दा पार्टी थप कमजोर हुने उनको तर्क छ।

अर्का देउवापक्षीय नेता विमलेन्द्र निधिले त गगन थापाले ‘अवैध’ र ‘धोकाधडीपूर्ण’ ढंगबाट पार्टी कब्जा गरेको गम्भीर आरोप लगाएका छन्। विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तनलाई वैधानिक मान्न नसकिने उनको दाबी छ। त्यसैले गगनलाई सभापति स्वीकार नगर्ने धारणा निधिले पनि सार्वजनिक गरेका छन्।

यसले कांग्रेसभित्रको विवाद केवल नेतृत्व परिवर्तनको विषयमा सीमित नरही पार्टीको आधिकारिकता र वैधानिकतासम्म पुगेको देखिएको छ। निर्वाचन आयोग र सर्वोच्च अदालतबाट गगन नेतृत्वको कांग्रेसले यसअघि नै आधिकारिकता पाइसकेको दाबी गरिए पनि देउवापक्षीय नेताहरूले त्यसलाई व्यवहारतः स्वीकार नगरेका हुन्।

नेता एनपी साउदले पनि गगनलाई कांग्रेस सभापति मान्न नसकिने धारणा व्यक्त गरेका छन्। देउवा स्वदेश फर्किएपछि पार्टी एकताबद्ध हुने अपेक्षा गरिए पनि अहिलेको अवस्था हेर्दा कांग्रेस एकताभन्दा विभाजनतर्फ उन्मुख भएको देखिएको उनको भनाइ छ।

कांग्रेस नेता तथा राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले आफू सभापतिका लागि इच्छुक भए पनि पार्टी फुटाउने पक्षमा नरहेको बताएका थिए। काठमाडौंमा जारी संस्थापन इतर समूहको राष्ट्रिय भेलामा बोल्दै उनले नयाँ पार्टी खोल्ने उद्देश्यले भेला आयोजना नगरिएको स्पष्ट पारे।

‘म पार्टी फुटाउने पक्षमा बिल्कुलै छैन। नयाँ पार्टी खोल्नका लागि होइन यो भेला। हामीले समयऔसमयमा परिमार्जन गर्दै जानुपर्छ। यस्तै भेलाले परिमार्जित गर्दै जान्छ। नयाँ कांग्रेस, संगठित कांग्रेस, नयाँ दिशातर्फ जान्छ कांग्रेस,’ शशांकले भनेका छन्।

तर, कांग्रेसभित्रको पछिल्लो शक्ति संघर्षले उनको एकताको सन्देश व्यवहारमा कार्यान्वयन हुन कठिन देखिएको छ। एकातिर गगन नेतृत्वलाई वैधानिक भन्दै नयाँ संरचनाअनुसार पार्टी अघि बढाउने प्रयास भइरहेको छ भने अर्कोतिर देउवा पक्षले गगनलाई नै सभापति मान्न अस्वीकार गरिरहेको छ।

यसबीच नेपालको राजनीतिक समीकरणसमेत तीव्र रूपमा बदलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी झण्डै दुई तिहाइ नजिकको बहुमतसहित सरकार सञ्चालन गरिरहेको अवस्थामा कमजोर बनेका कम्युनिस्ट शक्तिहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच एकताको प्रयास अघि बढिरहेको छ।

तर देशको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस भने नेतृत्व विवादमा फस्दै गएको छ। नेतृत्वको वैधानिकता, विशेष महाधिवेशनको प्रक्रिया र देउवाऔगगन पक्षबीचको टकराव तत्काल समाधान नभए कांग्रेस औपचारिक विभाजनको दिशातर्फ समेत जान सक्ने आशंका बढेको छ।

कांग्रेस जुट्छ कि फुट्छ भन्ने प्रश्नको ठोस उत्तर अहिले नै दिन कठिन भए पनि पछिल्ला अभिव्यक्तिले पार्टीभित्रको दूरी झन् गहिरिँदै गएको संकेत गरेका छन्। एकातिर गगन पक्ष आफ्नो वैधानिक नेतृत्वबाट पछि नहट्ने अवस्थामा छ भने अर्कोतिर देउवा पक्ष पनि देउवालाई नै कांग्रेसको वास्तविक सभापति दाबी गर्दै अघि बढिरहेको छ।

यस्तो अवस्थामा कांग्रेसभित्रको शक्ति संघर्षले आगामी राजनीतिक समीकरणमा समेत प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।

शशांक कोइराला सभापतिमा इच्छुक, शेखर उठे सहयोग गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी सभापति बन्न इच्छुक रहेको बताएका छन्। तर, डा. शेखर कोइराला सभापतिमा उम्मेदवार बने आफूले सहयोग गर्ने उनले स्पष्ट पारेका छन्।

काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलामा नेपालवान एचडीसँग कुरा गर्दै डा. शशांकले सभापतिका लागि आफ्नो इच्छा भए पनि पार्टीका नेता तथा कार्यकर्ताको धारणा सुनेपछि मात्रै निर्णय लिने बताए।

‘पार्टी सभापतिका लागि पनि इच्छुक त छु, तर मैले इच्छा मात्रै गरेर भएन। पार्टीका साथीहरूको के भनाइ छ, पहिले त्यो सुन्नुपर्‍यो। अनि निर्णय गर्छु,’ उनले भने।

डा. शेखर कोइराला पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावनाबारे गरिएको प्रश्नमा शशांकले आफूहरूबीच राम्रो समझदारी रहेको बताए। शेखर सभापतिमा उठे आफूले सहयोग गर्ने उनको भनाइ थियो।

‘हाम्रोबीचमा धेरै राम्रो अन्डरस्ट्यान्डिङ छ। उहाँ उठ्नुभयो भने ठीकै छ, म सहयोग गरिहाल्छु,’ उनले भने।

डा. शशांकले कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने बताए। आगामी महाधिवेशन वर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा हुने उनको भनाइ थियो।

यसैबीच, संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाबाट नयाँ पार्टी घोषणा नहुने पनि उनले स्पष्ट पारे। पार्टी विभाजन गर्ने उद्देश्यले भेला आयोजना नगरिएको भन्दै उनले कांग्रेसलाई थप व्यवस्थित र सुदृढ बनाउँदै अघि बढाउनुपर्ने धारणा राखे।

‘नयाँ पार्टी खोल्नका लागि होइन यो भेला। हामीले समय-समयमा परिमार्जित गर्दै जानुपर्छ। यस्तै भेलाले परिमार्जित गर्दै जान्छ,’ उनले भने।

आफू पार्टी विभाजनको पक्षमा नरहेको दोहोर्‍याउँदै शशांकले कांग्रेसलाई एकीकृत बनाएर अघि बढाउनुपर्ने बताए। ‘म पार्टी फुटाउने पक्षमा बिल्कुलै छैन,’ उनले स्पष्ट पारे।

राष्ट्रिय भेलाले कांग्रेसलाई नयाँ ढंगबाट अघि बढाउन सहयोग गर्ने उनको दाबी छ। उनले कांग्रेसलाई नयाँ, संगठित र स्पष्ट दिशासहित अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

‘नयाँ कांग्रेस, संगठित कांग्रेस, नयाँ दिशातर्फ जान्छ कांग्रेस,’ उनले भने।

अब कांग्रेसले सैद्धान्तिक बहसभन्दा विकासका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने पनि डा. शशांकको धारणा छ। कांग्रेस मात्र नभई सबै राजनीतिक दलले मुलुकको विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनले बताए।

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला शुक्रबारदेखि सुरु भएको हो। भेलाको बन्दसत्रमा कांग्रेस नेताहरूले प्रस्तुत गरेका विभिन्न दस्तावेजमाथि समूहगत छलफल भइरहेको छ। तीन दिनसम्म चल्ने भेला आइतबार सम्पन्न हुनेछ।

बालेन सरकार कामचलाउ सरकार : डा. शशांक कोइराला

काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकार काम चलाउ सरकार भएको बताएका छन्। 

शनिबार काठमाडौंमा कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाका क्रममा नेपालवान एचडीसँग कुराकानी गर्दै नेता कोइरालाले सरकारसँग कुनै नयाँपन नभएको बताए। बहुमतको समर्थन प्राप्त भए पनि सरकारले हालसम्म कुनै नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको उनको भनाइ थियो। 

‘यो मलाई लाग्छ, साधारण सरकार हो। उनीहरूको बहुमत त छ, तर कुनै ठोस कुनै राम्रो काम गरेको मलाई लाग्दैन,’ उनले भने। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता वालेन्द्र शाहको सरकारका कामचलाउ भएको टिप्पणी गरे। ‘नयाँ कुनै नीतिहरू त ल्याएको छैन, उनीहरूले। खाली यो कामचलाउ सरकार भनौं न,’ डा. कोइरालाले भने। 

 यो पाँच वर्ष टिक्ला कि मध्यावधिमा जाने सम्भावना रहन्छ भन्ने प्रश्नमा डा. कोइरालाले भने, ‘सम्भावना त किन रहँदैन, भइहाल्छ नि।’

डा. कोइरालाकै नेतृत्वमा राष्ट्रिय भेला आयोजना गरिएको हो। शुक्रबार सुरु भएको भेला आइतबारसम्म चल्नेछ। 

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

बाँके। नेपालगञ्ज उपमहानगरपालिका-२२ पुरैनीस्थित कान्तिताल संरक्षण र नियमित रेखदेखको अभावमा जीर्ण बन्दै गएको छ।

नेपालगञ्जको प्रमुख पर्यटकीयस्थलका रूपमा विकास गरिएको ताल क्षेत्रमा झाडी तथा बुट्यान फैलिँदै गएपछि यसको सौन्दर्यसमेत घट्दै गएको छ।

तालको सौन्दर्य बढाउन नेपालगञ्ज उपमहानगरपालिकाले करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरेको रेलिङसमेत विभिन्न स्थानमा भत्किएका छन्। स्थानीय चक्र बुढाले तालको सुरक्षाका विषयमा सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि सुनुवाइ नभएको बताए।

कान्तिताल विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानसमेत रहेकाले यसको संरक्षणका लागि संरक्षणकर्मी तथा वातावरण संरक्षणमा चासो राख्नेहरूले आवाज उठाउँदै आएका छन्। तर, तालको संरक्षण र व्यवस्थापनमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिँदा समस्या बढ्दै गएको स्थानीयको भनाइ छ।

नेपालगञ्ज उपमहानगरपालिकाले कान्तिताललाई संरक्षण गरी पर्यटकीयस्थलका रूपमा विकास गर्न रु १० करोड खर्च गरेको थियो। ठूलो लगानीमा निर्माण गरिएको ताल क्षेत्र अहिले नियमित सरसफाइ र रेखदेखको अभावमा कुरुप तथा जीर्ण बन्दै गएको बुढाले बताए।

स्थानीयका अनुसार ताल क्षेत्र लागुऔषध प्रयोगकर्ताको जमघटस्थलसमेत बन्न थालेको छ। रातको समयमा शङ्कास्पद गतिविधि हुने गरेको भन्दै उनीहरूले ताल क्षेत्रमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग गरेका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाले विसं २०७५ मा कान्तिताललाई व्यवस्थित गरी पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो। तर, नियमित संरक्षण र सरसफाइको अभावमा करोडौँ रुपैयाँ लगानी गरिएको आयोजना अपेक्षाअनुसार उपयोग हुन नसकेको स्थानीयको भनाइ छ।

ताल सञ्चालनका लागि वार्षिक रु २८ लाख राजस्व उपमहानगरपालिकालाई बुझाउने गरी ठेक्का लिएका ठेकेदार फनबहादुर गुरुङले रेलिङ लागुऔषध प्रयोगकर्ताले तोडफोड गरेको हुनसक्ने बताए। यस विषयमा वास्तविकता खोजी गरिने उनले उल्लेख गरे।

यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कान्तिताललाई व्यवस्थित बनाउन नयाँ योजना बनाइरहेको बताए।

विगतमा ताल संरक्षणका लागि बनाइएका योजना सफल हुन नसकेकाले सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरी प्रभावकारी योजना तयार गरिने उनले जानकारी दिए।

नयाँ योजना कार्यान्वयनमा ल्याएर कान्तितालको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाइने उनको भनाइ छ।

१५ अगस्त : देश स्वतन्त्र भयो, हामी?

१५ अगस्तमा भारतभरि राष्ट्रिय झण्डा फहरिन्छ। विद्यालयदेखि सरकारी कार्यालयसम्म देशभक्तिका गीत गुञ्जिन्छन्, स्वतन्त्रता सेनानीहरूलाई सम्झिइन्छ र देशको स्वतन्त्रताको इतिहासलाई स्मरण गरिन्छ। 

यो दिन भारतका लागि राष्ट्रिय पर्व मात्र नभई, संघर्ष, त्याग र बलिदानबाट प्राप्त स्वतन्त्रताको अर्थ बुझ्ने अवसर पनि हो।

सन् १९४७ मा भारत विदेशी शासनबाट मुक्त भयो। लाखौँ मानिसको संघर्ष र बलिदानपछि प्राप्त स्वतन्त्रताले भारतीय जनतालाई आफ्नो भविष्य आफैँ निर्धारण गर्ने अधिकार दियो। यो इतिहास निश्चय नै गौरवपूर्ण छ।

तर १५ अगस्तसम्म आइपुग्दा हामीले एक प्रश्न अवश्य आफुले आफैलाई सोध्न जरुरी छ – ‘देश स्वतन्त्र भयो, तर के हामी आफैँ पनि स्वतन्त्र भयौँ?’

बाहिरी शासनका बन्धन तोडिए। आफ्नै देश, आफ्नै शासन र आफ्नै निर्णयको अधिकार प्राप्त भयो। तर आफ्नै मनभित्र रहेका बन्धनहरू कति तोडिए?

कहिलेकाहीँ कसैले एउटा शब्द भनिदिँदा हामी दिनभरि रिसाइरहन्छौँ। अरूको प्रगतिले ईर्ष्या जगाउँछ। सानो अपमानलाई मनमा बोकेर सम्बन्ध बिगार्छौँ। असफलताको डरले निर्णय लिन सक्दैनौँ। लोभ, मोह, अहंकार र क्रोधले पटक-पटक हाम्रो व्यवहारलाई नियन्त्रण गर्छ।

देश स्वतन्त्र भयो,बाहिरबाट हामी स्वतन्त्र नागरिक देखिन्छौँ। तर भित्र भने कुनै न कुनै भावना, डर वा विकारको कैदी हुन सक्छौँ।

फलामको साङ्लो देखिन्छ, मनको साङ्लो देखिँदैन। तर त्यसको प्रभाव अझ गहिरो हुन सक्छ। त्यसैले स्वतन्त्रताको कठिन यात्रा देशको सीमाभन्दा बाहिर होइन, आफ्नै मनभित्रबाट सुरु हुन्छ।

भारतको स्वतन्त्रता आन्दोलन एउटा शासन हटाउने संघर्ष थिएन। त्यो आत्मसम्मान, अधिकार, स्वाभिमान र आफ्नो अस्तित्वका लागि गरिएको लामो संघर्ष थियो।

महात्मा गान्धीले रामराज्यको कल्पना गरेका थिए। उनले कल्पना गरेको रामराज्यलाई राजनीतिक व्यवस्थाका रूपमा बुझ्नु पनि पर्याप्त हुँदैन। त्यसको आधार सत्य, अहिंसा, न्याय, प्रेम, पवित्रता र सद्भावजस्ता मानवीय मूल्यमा थियो। 

कमजोरले न्याय पाओस्, मानिसले मानिसलाई सम्मान गरोस् र शासनमा नैतिकताको स्थान रहोस् भन्ने भावना त्यसको केन्द्रमा थियो।

तर यस्तो समाज कहाँबाट बन्छ? कानुन बनाएर मात्र? सरकार बदलेर? सत्ता परिवर्तन गरेर?

यी सबै आवश्यक हुन सक्छन्, तर यतिले मात्र समाज बदलिँदैन। समाज मानिसबाट बनेको हुन्छ। मानिसको सोच र चरित्र परिवर्तन नभएसम्म समाजको स्वरूप पनि पूर्ण रूपमा परिवर्तन हुँदैन। त्यसैले रामराज्यको सुरुवात संसद् वा सरकारबाट मात्र होइन, मानिसको अन्तर्मनबाट पनि हुनुपर्छ।

आफ्नै मनमा शान्ति छैन भने बाहिर शान्त समाज कसरी बनाउने? आफ्नो व्यवहारमा सम्मान छैन भने अरूबाट सम्मान कसरी खोज्ने? आफूभित्र सत्यनिष्ठा छैन भने समाजमा नैतिकताको अपेक्षा कसरी गर्ने? सायद यहीँबाट रामराज्यको वास्तविक यात्रा सुरु हुन्छ।

हामी सबैलाई संसार सुधार्न मन लाग्छ। परिवार यस्तो होस्, समाज यस्तो होस्, नेता यस्तो होस् र व्यवस्था यस्तो होस् भन्ने अपेक्षा हुन्छ। तर सबैभन्दा कठिन प्रश्न अरूलाई होइन, आफैँलाई सोध्नुपर्छ

म आफैँ कति बदलिएको छु?

घरमा शान्ति चाहने म आफैँ कति शान्त छु?

अरूबाट सम्मान खोज्ने म अरूलाई कति सम्मान गर्छु?

सत्यको अपेक्षा गर्ने म आफैँ कति सत्यनिष्ठ छु?

समाजमा भ्रष्टाचार नहोस् भन्ने म आफ्ना साना स्वार्थमा कति इमानदार छु?

देशमा रामराज्य चाहने हामीले आफ्नो घर र आफ्नो व्यवहारमा कति रामराज्य ल्याएका छौँ?

यी प्रश्नको इमानदार उत्तर खोज्नु पनि १५ अगस्त मनाउने एउटा अर्थपूर्ण तरिका हुन सक्छ।

राजयोगले मानिसलाई बाहिरी पहिचानभन्दा माथि उठेर आफूलाई शान्त र ज्योतिर्मय आत्माका रूपमा सम्झन प्रेरित गर्छ। आत्मचेतनाको यात्रा यहीँबाट सुरु हुन्छ।

जब हामी आफूलाई पद, प्रतिष्ठा, पैसा वा सामाजिक पहिचानसँग जोड्छौँ, अरूले हामीलाई कसरी हेरे भन्ने कुराले हाम्रो मन प्रभावित हुन्छ। प्रशंसा पाउँदा खुसी र आलोचना हुँदा दुःखी हुन्छौँ। सम्मान पाए आफूलाई ठूलो ठान्छौँ, बेवास्ता पाए अशान्त हुन्छौँ।

तर आत्मचेतना बढ्दै जाँदा ध्यान बाहिरबाट भित्रतिर फर्किन थाल्छ।

म कस्तो व्यक्ति बन्दैछु?

मेरो सोच कस्तो छ?

मेरो व्यवहारले अरूलाई शान्ति दिन्छ कि तनाव?

मेरो उपस्थितिले सम्बन्ध जोड्छ कि तोड्छ?

परमात्मा शिवबाबाको स्मृतिमा रहेर बुद्धियोग जोड्ने अभ्यासले पनि मानिसलाई यही आत्मिक शक्तितर्फ फर्किन प्रेरित गर्छ। राजयोग संसारबाट भाग्ने बाटो होइन। संसारमै रहेर आफ्नो मनमाथि शासन गर्न सिक्ने अभ्यास हो।

क्रोध आएको बेला आफूलाई रोक्न सक्नु स्वराज्य हो।

अहंकार बढ्न खोज्दा आफूलाई सम्झाउन सक्नु स्वराज्य हो।

लोभ र मोहले तान्दा विवेकपूर्ण निर्णय गर्न सक्नु स्वराज्य हो।

विपरीत परिस्थितिमा पनि भित्री शान्ति जोगाउन सक्नु स्वराज्य हो।

अरूलाई नियन्त्रण गर्नुभन्दा पहिले आफूलाई नियन्त्रण गर्न सक्नु नै साँचो स्वराज्य हो।

अनि स्वतन्त्रता,स्वतन्त्रतालाई हामी प्रायः अधिकारसँग जोड्छौँ। तर यसको अर्को पक्ष जिम्मेवारी पनि हो।

क्रोध आयो भन्दैमा क्रोधअनुसार व्यवहार गर्नु स्वतन्त्रता होइन। क्रोध आएको अवस्थामा पनि आफूलाई सम्हालेर सही निर्णय गर्न सक्नु स्वतन्त्रता हो।

नकारात्मक विचार आयो भन्दैमा त्यसैअनुसार चल्नु स्वतन्त्रता होइन। विचारलाई चिन्नु र त्यसबाट माथि उठ्न सक्नु वास्तविक स्वतन्त्रता हो।

बाटोमा कसैले गाडी काट्दा हामी रिसाउँछौँ। सामाजिक सञ्जालमा कसैले आलोचना गर्दा घण्टौँ त्यसको जवाफ सोचिरहन्छौँ। अरूले प्रशंसा पाउँदा ईर्ष्या जाग्छ। कसैले हाम्रो कामको श्रेय लिँदा बदलाको भावना आउँछ।

घटना सानो हुन सक्छ। तर त्यही क्षणमा हाम्रो आत्मिक स्वतन्त्रताको परीक्षा भइरहेको हुन्छ।

म परिस्थितिलाई चलाइरहेको छु कि परिस्थितिले मेरो मन चलाइरहेको छ?

वास्तविक स्वराज्यको प्रश्न सायद यही हो। 

आज संसार निकै अत्याधुनिक छ । मोबाइलको एउटा क्लिकले संसारको अर्को कुनामा रहेको मानिससँग कुरा गर्न सकिन्छ। जानकारी र मनोरञ्जनका साधनको कमी छैन। प्रविधिले जीवनलाई धेरै सहज बनाएको छ।

तर एउटा विरोधाभास पनि देखिन्छ

संसारसँग जोडिन सजिलो भएको छ, तर आफ्नै मनसँग जोडिन गाह्रो हुँदै गएको छ।

बोल्ने माध्यम धेरै छन्, तर एकअर्कालाई सुन्ने धैर्य कम हुँदै गएको छ।

जानकारी धेरै छ, तर आत्मचिन्तनका लागि समय कम छ।

मन बहलाउने साधन धेरै छन्, तर मनको शान्ति अझै खोजिरहनुपरेको छ।

बाहिरी सुविधा बढ्दै जाँदा अपेक्षा पनि बढ्छ। अपेक्षा बढेपछि असन्तोष र तनाव बढ्न सक्छ। त्यसैले बाहिरी विकाससँगै भित्री विकास पनि आवश्यक छ।

प्रविधिले हाम्रो हातलाई शक्तिशाली बनाएको छ। अब चेतनाले पनि हाम्रो मनलाई बलियो बनाउन सिक्नुपर्छ।

ठूलो परिवर्तनका लागि सधैँ ठूलो पद, भाषण वा अभियान आवश्यक हुँदैन। कहिलेकाहीँ परिवर्तन एउटा सानो निर्णयबाट सुरु हुन्छ।

घरमा कसैले रिसाएर बोल्दा हामी पनि रिसाउनुको सट्टा केही क्षण मौन बस्छौँ। कसैले गल्ती गर्दा तुरुन्त दोष लगाउनुको सट्टा उसको कुरा सुन्छौँ। आफ्नो गल्ती हुँदा स्वीकार गर्छौँ। अरूले सफलता पाउँदा मन खोलेर खुसी हुन सिक्छौँ। यस्ता साना निर्णयले नै चरित्र निर्माण गर्छन्।

एउटा शान्त मानिसले परिवारको वातावरण बदल्न सक्छ। शान्त परिवारले समाजमा प्रभाव पार्न सक्छ। सकारात्मक समाजले राष्ट्रको चेतना बलियो बनाउन सक्छ।

ठूलो परिवर्तन कहिलेकाहीँ ठूलो नाराबाट होइन, एउटा व्यक्तिले एउटा क्षणमा गरेको सही छनोटबाट सुरु हुन्छ।

त्यसैले यस १५ अगस्तमा राष्ट्रिय स्वतन्त्रताको उत्सव मनाउँदै गर्दा आफूभित्र पनि एउटा सानो स्वतन्त्रताको अभियान सुरु गरौँ – 

देश स्वतन्त्र भयो। अब आफूलाई पनि आफ्नै विकारबाट स्वतन्त्र बनाउने प्रयास गरौँ।

१५ अगस्तमा राष्ट्रिय झण्डा आकाशमा फहरिँदा मनमा गर्व पैदा हुन्छ। तर झण्डालाई हेर्दै आफैँलाई एउटा प्रश्न सोध्न सकिन्छ, के मेरो जीवनले पनि यो झण्डाको सम्मान गरिरहेको छ?

देशको सम्मान केवल झण्डालाई सलाम गरेर हुँदैन। हाम्रो आचरणले पनि देशको सम्मान बढाउँछ। 

सत्य बोल्नु देशप्रेम हो। 

आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नु देशप्रेम हो।

सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु देशप्रेम हो।

अरूको अधिकारको सम्मान गर्नु देशप्रेम हो।

कमजोरप्रति संवेदनशील हुनु देशप्रेम हो।

आफ्नो स्वार्थभन्दा माथि उठेर समाजका बारेमा सोच्नु पनि देशप्रेम हो।

त्यसैले राष्ट्रिय झण्डा बाहिर फहरिरहँदा हाम्रो अन्तर्मनमा पनि सत्य, शान्ति, प्रेम र पवित्रताको झण्डा फहरियोस्।

१५ अगस्तले एउटा गहिरो सत्य सम्झाउँछ ,बाहिरी स्वतन्त्रता इतिहासले दिएको उपलब्धि हो, तर भित्री स्वतन्त्रता प्रत्येक व्यक्तिले आफैँ प्राप्त गर्नुपर्ने यात्रा हो।

पहिलो स्वतन्त्रता संघर्षबाट आयो। दोस्रो स्वतन्त्रता साधना र आत्मचिन्तनबाट आउँछ। राष्ट्रको सीमा जोगाउन सुरक्षा चाहिन्छ। मनको सीमा जोगाउन आत्मसंयम चाहिन्छ।

देशलाई बाहिरी चुनौतीबाट जोगाउन शक्ति चाहिन्छ। आत्मालाई भित्री विकारबाट जोगाउन चेतना चाहिन्छ। राष्ट्रको एकता जोगाउन सहकार्य चाहिन्छ। आत्मिक स्वतन्त्रता जोगाउन विवेक चाहिन्छ।

यसर्थ, १५ अगस्त ‘देश स्वतन्त्र भएको दिन’ मात्र होइन, ‘म आफैँ कति स्वतन्त्र छु?’ भनेर आफैँलाई हेर्ने दिन पनि बन्न सक्छ।

‘राधे नेपाली मूलकी भारतीय कवियत्री हुन्’

सुस्ता डुब्ने चिन्ताले रोए स्थानीय, सरकारसँग मागे गुहार [भिडियो]

नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बाढीको जोखिम न्यूनीकरणका लागि स्थानीय बासिन्दाले श्रमदानसहित निर्माण गरेको बाँध पछिल्लो बाढीले बगाएपछि सुस्ता क्षेत्र थप जोखिममा परेको छ।

सुस्ता बचाउका लागि स्थानीयवासी, प्रहरी र नेपाली सेनासमेतको सहयोगमा निर्माण गरिएको संरचना बाढीले क्षतिग्रस्त बनाएपछि पुनः निर्माणको काम भने रोकिएको स्थानीयले बताएका छन्।

सुस्ता बचाउ संघर्ष समितिका संयोजक बाबु खानका अनुसार असार १६ गतेदेखि स्थानीयवासीले बाढी नियन्त्रणका लागि बाँध निर्माणको काम सुरु गरेका थिए। स्थानीयले ठूलो संख्यामा श्रमदान गरेका थिए भने नेपाल प्रहरी र नेपाली सेनाले समेत निर्माण कार्यमा सहयोग गरेका थिए। त्यसपछि बाँध निर्माणको काम निरन्तर अघि बढिरहेको थियो।

खानका अनुसार स्थानीयवासीले आफ्नो गाउँ र बस्ती जोगाउने उद्देश्यले सीमित स्रोतसाधनका बीच ठूलो मेहनत गरेर बाँध निर्माण गरेका थिए। तर पछिल्लो समय आएको ठूलो बाढीले उनीहरूले निर्माण गरेका अधिकांश संरचना बगाएर लगेको छ।

‘१६ गतेदेखि हामी बाँध हाल्ने काममा लागेका थियौँ। त्यसपछि एसएसबीसँग सम्बन्धित भिडियोसमेत हामीले सार्वजनिक गरेका थियौँ। यहाँ सुस्तावासीले ठूलो श्रमदान गरेका छन्। प्रहरीले र सेनाले पनि सहयोग गरेका थिए। अहिले पनि काम भइरहेकै थियो,’ खानले भने।

तर पछिल्लो बाढीले गाउँ नै जोखिममा पार्ने अवस्था सिर्जना गरेको उनको भनाइ छ। ‘हिजो राति आएको बाढीले गाउँ नै जोखिममा परेको छ। हामीले जति काम गरेका थियौँ, त्यो सबै बाढीले बगाएर लगेको छ,’ उनले भने।

बाढीले निर्माण गरिएको बाँध तथा अन्य संरचना क्षतिग्रस्त भएपछि तत्काल पुनःनिर्माण र बाढी नियन्त्रणका लागि सरकारी निकायबाट ठोस पहल हुने अपेक्षा स्थानीयले गरेका थिए। मुख्यमन्त्री, गाउँपालिका पदाधिकारी तथा वडाध्यक्षसमेत प्रभावित क्षेत्रको निरीक्षणमा आएर आश्वासन दिए पनि त्यसपछि काम अघि नबढेको खानले गुनासो गरे।

उनका अनुसार अहिले मुख्य समस्या बजेट अभाव बनेको छ। आवश्यक रकम उपलब्ध नभएका कारण बाँध पुनःनिर्माण तथा बाढी नियन्त्रणको काम रोकिएको उनले बताए।

‘मुख्यमन्त्री र गाउँपालिकाका प्रतिनिधि आएका थिए। वडाध्यक्ष पनि आउनुभएको थियो। उहाँहरूले आश्वासन दिएर जानुभयो। तर अहिले काम अघि बढेको छैन। पैसा नभएकाले काम रोकिएको छ,’ खानले भने।

स्थानीयवासीले आफ्नो ज्यान र बस्ती जोगाउन श्रमदान गरेर संरचना निर्माण गरे पनि प्राकृतिक विपत्तिले त्यसलाई बगाएपछि उनीहरू थप निराश भएका छन्।

अब सरकारबाट तत्काल बजेट निकासा गरी बाढीले क्षति पुर्‍याएको बाँध पुनःनिर्माण गर्नुपर्ने उनीहरूको माग छ।

भिडियो:

 

‘गगन नै सभापति हुन्, भ्रम नपालौँ’ [भिडियो]

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको सभापति र केन्द्रीय समितिको वैधानिकताबारे कुनै भ्रम वा अन्योलमा पर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित दोस्रो झापा-१ काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी हुने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले पार्टीको विशेष महाधिवेशन र त्यसबाट भएका निर्णयलाई लिएर अनावश्यक विवाद सिर्जना गर्न नहुने धारणा राखे।

उनले विधिसम्मत रूपमा सम्पन्न भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत मान्यता प्राप्त भइसकेको दाबी गर्दै पार्टीको वैधानिकताका विषयमा प्रश्न उठाइरहन आवश्यक नरहेको बताए।

शर्माले सर्वोच्च अदालतको निर्णय सबै पक्षले स्वीकार गर्नुपर्ने उल्लेख गर्दै अदालतले कांग्रेसको केन्द्रीय समितिलाई बदर नगरेको र गगन थापा नै पार्टीको आधिकारिक सभापति रहेको विषय स्पष्ट भइसकेको जिकिर गरे। उनले पार्टीभित्र फरक धारणा राख्ने समूहलाई समेत अदालतको निर्णयलाई आधार बनाएर अघि बढ्न आग्रह गरे।

पार्टी विभाजन हुन सक्ने चर्चाबारे पनि शर्माले त्यसको सम्भावना नरहेको बताए। कांग्रेसभित्र उत्पन्न हुने विवाद समाधानको आधार पार्टीको विधान र स्थापित कानुनी प्रक्रिया नै हुने उनको भनाइ थियो।

राजनीतिक विवादमा अन्तिम निर्णय गर्ने निकायका रूपमा निर्वाचन आयोग र सर्वोच्च अदालतको भूमिकालाई उनले खेलकुदसँग तुलना गरे।

फुटसलमा खेलको नियम उल्लंघन हुँदा दर्शकले नभई रेफ्रीले मात्र पहेँलो वा रातो कार्ड देखाउन पाउने उदाहरण दिँदै शर्माले राजनीतिक दलको वैधानिकता र आधिकारिकताबारे निर्णय गर्ने अधिकार पनि सम्बन्धित संवैधानिक तथा कानुनी निकायसँग मात्रै हुने बताए।

उनले कांग्रेसमा आन्तरिक मतभिन्नता भए पनि विधिको शासन र संस्थागत प्रक्रियालाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिए।

पार्टीभित्रको विवादलाई व्यक्तिगत टकरावभन्दा पनि विधि र प्रक्रियामार्फत समाधान गर्नुपर्ने शर्माको धारणा थियो।

भिडियो: 

 

कांग्रेस विधान संशोधनका लागि रमेश लेखकले अघि सारे ४३ बुँदे प्रस्ताव

काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको विधान संशोधनका लागि ४३ बुँदे अवधारणापत्र अघि सारेका छन्।

कांग्रेस इतरपक्षको राष्ट्रिय भेलाको दोस्रो दिन शनिबार लेखकले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका हुन्।

लेखकले अघि सारेको प्रस्तावमा पार्टीको विशेष महाधिवेशनसम्बन्धी व्यवस्थालाई थप स्पष्ट र व्यवस्थित गर्नुपर्ने विषयलाई प्राथमिकता दिइएको छ। विशेष महाधिवेशन बोलाउने समय र परिस्थितिबारे विधानमै निश्चित सीमा तोक्न प्रस्ताव गरिएको छ।

अवधारणापत्रमा केन्द्रीय महाधिवेशनको निर्धारित समयावधि समाप्त हुन ६ महिनाभन्दा कम अवधि बाँकी रहेको अवस्थामा विशेष महाधिवेशन गर्न नहुने व्यवस्था गर्न सुझाइएको छ। नियमित महाधिवेशनको समय नजिकिँदै गएको अवस्थामा विशेष महाधिवेशन आयोजना गर्दा पार्टीको नियमित महाधिवेशन प्रक्रियामा असर पर्न सक्ने भएकाले यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।

त्यस्तै, राष्ट्रिय निर्वाचन हुन ६ महिना वा सोभन्दा कम अवधि बाँकी रहेको अवस्थामा पनि विशेष महाधिवेशन गर्न नहुने प्रस्ताव गरिएको छ। निर्वाचनको तयारी तथा पार्टीको सम्पूर्ण संगठनात्मक गतिविधि निर्वाचनमा केन्द्रित हुने भएकाले त्यस अवधिमा विशेष महाधिवेशन आयोजना नगर्ने व्यवस्था विधानमा राख्न खोजिएको हो।

प्रस्तावमा पार्टीले केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने निर्णय गरिसकेको अवस्थामा समेत विशेष महाधिवेशन गर्न नहुने व्यवस्था गर्न सुझाव दिइएको छ। यसले नियमित महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि विशेष महाधिवेशनका नाममा अर्को प्रक्रिया अघि बढाउन रोक लगाउने अपेक्षा गरिएको छ।

अवधारणापत्रमा भनिएको छ, ‘केन्द्रीय महाधिवेशनको समयावधि समाप्त हुनुभन्दा कम्तीमा ६ महिनाभन्दा कम अवधि बाँकी रहेको अवस्थामा, राष्ट्रिय निर्वाचन हुनुभन्दा कम्तीमा ६ महिना वा सोभन्दा कम अवधि बाँकी रहेको अवस्थामा तथा पार्टीले केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने निर्णय गरिसकेको अवस्थामा विशेष महाधिवेशन गरिने छैन भन्ने व्यवस्था गर्ने।’

लेखकले प्रस्तुत गरेको ४३ बुँदे प्रस्तावमा विशेष महाधिवेशनसँगै पार्टीको विधानलाई समयानुकूल परिमार्जन, संगठन सञ्चालन तथा आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई थप व्यवस्थित बनाउने विषय समेटिएको बताइएको छ।

कांग्रेस इतरपक्षको राष्ट्रिय भेलामा विधान संशोधनका विभिन्न विषयमा छलफल भइरहेको छ। भेलामा प्रस्तुत प्रस्तावमाथि सहभागी नेताहरूले धारणा राख्ने र आवश्यक सुझावका आधारमा विधान संशोधनसम्बन्धी प्रस्तावलाई थप परिमार्जन गर्ने तयारी रहेको छ।