`

मध्यरातमा प्रहरी नियन्त्रणमा परेका जबरा प्रकरणमा कसले के भने? 

काठमाडाैं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले शनिबार मध्यराति निवासबाट नियन्त्रणमा लिएर आइतबार दिउँसो ‘सुरक्षित स्थान’बाट परिवारको जिम्मा लगाएपछि सरकारको कदममाथि प्रश्न उठेको छ। 

प्रहरीले जबरालाई सुरक्षा चुनौतीका कारण नियन्त्रणमा लिइएको बताएको छ। तर उनलाई कुन कानुनी आधारमा र के कारणले पक्राउ वा नियन्त्रणमा लिइएको हो भन्ने विषयमा स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

बिना पक्राउ पुर्जी रातमा गैरकानुनी तरिकाले जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको पक्राउलाई लिएर राजनीतिक तथा सार्वजनिक वृत्तबाट विभिन्न प्रश्न उठिरहेका छन्। उनको पक्राउलाई लिएर बोल्ने अधिकांशले सरकारी रबैयामाथि नै प्रश्न उठाइरहेका छन्।  कतिसम्म भने जेनजी बाट आक्रमण हुने खतरापछि पक्राउ गरिएको सरकारी धारणापछि जेनजी अभियन्ताहरुले नै सरकारको उक्त भनाइको खण्डन गरिरहेका छन्। 

घटनापछि नेपाली कांग्रेसले राज्यका सबै निकाय संविधान र कानुनको सीमाभित्र रहनुपर्ने बताएको छ। कांग्रेसले भनेको छ, ‘कसैले कानूनको उल्लंघन गरेको छ भने निष्पक्ष अनुसन्धान होस्, प्रमाणका आधारमा कारबाही होस् र दोषी ठहरिए कानूनबमोजिम सजाय होस्। तर गिरफ्तारी स्वयं दोषको प्रमाण हुँदैन।’

कांग्रेसले जबराको नियन्त्रणका विषयमा सरकारी अधिकारीहरूबाटै परस्पर विरोधी धारणा सार्वजनिक हुनु गम्भीर चिन्ताको विषय भएको जनाएको छ। गिरफ्तारी कानुनसम्मत, आवश्यक र उचित थियो भने सरकारले त्यसको स्पष्ट कानुनी आधार र औचित्य सार्वजनिक गर्नुपर्ने कांग्रेसको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले पनि सुरक्षा चुनौतीको कारण देखाएर गरिएको नियन्त्रणमाथि प्रश्न उठाएका छन्। उनले भनेका छन्, ‘चोलेन्द्रमाथिकाे सुरक्षा खतरा कसरी टर्‍यो पत्तै पाइएन।’ उनले गिरफ्तारी पुर्जीसमेत नदिई मध्यरातमा समात्नु गलत भएको बताएका छन्।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने बिना प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारीलाई कानुनी शासनविपरीत भएको बताएका छन्। उनले भनेका छन्, ‘बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो।’

एमालेकै उपमहासचिव योगेश भट्टराईले पनि सरकारको कदमको विरोध गरेका छन्। उनले भनेका छन्, ‘सुरक्षा चुनौती रहेछ भने सुरक्षा दिनु राज्यको दायित्व हो तर मध्यरातमा गरिएको गिरफ्तारी कुनै बहानाबाजीबाट पनि उचित मान्न सकिँदैन।’ उनले जबराको गिरफ्तारीलाई ‘गैरकानुनी र गैरन्यायिक’ भनेका छन्।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि सुरक्षा चुनौतीको नाममा कानुनी प्रक्रिया मिच्न नहुने बताएका छन्। उनले भनेका छन्, ‘सुरक्षाको बहाना बनाएर पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु गम्भीर चिन्ताको विषय हो।’

नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्रले पनि मध्यरातमा पक्राउ गर्ने तरिकामाथि प्रश्न उठाएका छन्। उनले भनेका छन्, ‘प्रारम्भिक रूपमा मध्यरातमा पक्राउ गर्ने तरिकाबारे प्रश्न उठेको छ। तर नेपाल बारले भ्रष्टाचारको समर्थन गर्न सक्दैन।’

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पनि सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनका अनुसार ‘अपराध वा कसुर जतिसुकै गम्भीर भए पनि सरकार आफैं रहस्यमय बन्न मिल्दैन।’ पूर्वप्रधानन्यायाधीश मात्र नभई सर्वसाधारण नागरिकको समेत संविधानप्रदत्त मौलिक अधिकार र कानुनी संरक्षणको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको भनाइ छ।

जेनजी अभियन्ता माजिद अन्सारीले प्रहरीको कदमलाई अझ कडा रूपमा आलोचना गरेका छन्। उनले सरकारमाथि प्रश्न गर्दै सुरक्षा खतरा भए सुरक्षाकर्मीले सुरक्षा दिनुपर्ने बताएका छन्। उनका अनुसार ‘पक्राउ पुर्जीसमेत नदिई मध्यरातमा समात्नु’ गलत हो।

अर्की जेनजी अभियन्ता रक्षा बमले ‘जेनजीबाट सुरक्षा थ्रेट’ भनिएको विषयमा प्रश्न उठाएकी छन्। उनले ‘यदि ‘जेनजी’ कुनै संगठित सुरक्षा खतरा हो भने त्यसको प्रमाण कहाँ छ?’ भन्दै सरकारसँग प्रमाण सार्वजनिक गर्न माग गरेकी छन्।

जबरामाथि विगतमा उठेका कानुनी, नैतिक र राजनीतिक प्रश्न अलग विषय भए पनि उनलाई नियन्त्रणमा लिने प्रक्रिया र त्यसको कानुनी आधारबारे सार्वजनिक रूपमा उठेका प्रश्नले सरकारमाथि दबाब बढाएको छ। घटनाको वास्तविक कारण, सुरक्षा चुनौतीको आधार र नियन्त्रणका लागि अपनाइएको कानुनी प्रक्रियाबारे स्पष्ट जानकारी आएपछि मात्रै विवादको वास्तविकता प्रस्ट हुने देखिन्छ।

जबराले सरकार ढाल्न खोजेको आशंकाका बारेमा केही महिना यता चर्चा चल्दै आएको थियो।  साथै अदालतमा विचाराधिन मुद्दाहरुमा न्यायिक प्रभाव पार्न खोजेको आरोप पनि उनीमाथि छ। 

 

मुगु-हुम्ला सीमामा झडप, एकको मृत्यु; दुई बेपत्ता

मुगु। मुगु र हुम्लाको सीमावर्ती क्षेत्रमा जडीबुटी संकलन गर्ने क्रममा स्थानीयबीच झडप भएपछि भाग्ने क्रममा एक जनाको मृत्यु भएको छ। घटनापछि दुई जना अझै बेपत्ता छन्।

मुगुम कार्मारोङ गाउँपालिका र हुम्लाको चंखेली गाउँपालिकाको सीमावर्ती मिमी सामुदायिक वनमा घटना भएको हो। जडीबुटी संकलनका लागि २ असोजमा घरबाट निस्किएका १३ जनामध्ये १० जना सम्पर्कमा आइसकेका छन्।

मुगुका प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीका अनुसार जडीबुटी संकलनका क्रममा दुई पक्षका स्थानीयबीच विवाद भएको थियो। विवादपछि भागेर फर्किने क्रममा एक जनालाई लेक लागेपछि मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ।

मिमी वन क्षेत्रमा वनको सीमासम्बन्धी विवादसमेत रहेको बताइएको छ। चंखेली गाउँपालिका–२ हुँदै कार्मारोङ–७ को मिमी वन क्षेत्रमा पुगेका उनीहरू त्यहाँ जडीबुटी संकलन गर्ने क्रममा स्थानीयसँग विवादमा परेको प्रशासनको भनाइ छ।

मृत्यु हुनेमा मुगुम कार्मारोङ गाउँपालिका–९ का २२ वर्षीय गणेशबहादुर बुढा रहेको प्रजिअ भण्डारीले जानकारी दिए। घटनास्थलबाट शव तल झारिएको छ भने पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ।

सुरुमा नौ जना सम्पर्कविहीन रहेको जानकारी आए पनि खोजीका क्रममा सात जना सम्पर्कमा आएका थिए। अहिले दुई जना बेपत्ता रहेको प्रशासनले जनाएको छ।

बेपत्ताको खोजीका लागि मुगु र हुम्लाका जिल्ला प्रशासन तथा प्रहरी कार्यालयबीच समन्वय भइरहेको छ। दुवै जिल्लाबाट खोजी टोली परिचालन गरिएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताएका छन्।

रास्वपाको वेबसाइट ह्याक!

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदस्यता दिन बनाएको डिजिटल प्रणाली नै सदस्यहरूको व्यक्तिगत विवरण बाहिरिने बाटो बनेको हो कि भन्ने प्रश्न उठेको छ । पार्टीको वेबसाइट तथा सदस्यता प्रणाली ह्याक भएको दाबी सार्वजनिक भएपछि यस्तो प्रश्न उठेको हो ।

दाबीअनुसार रास्वपाको सदस्यता लिँदा बुझाइएका नागरिकता, मतदाता परिचयपत्र, फोटो, मोबाइल नम्बर, इमेलदेखि लगइन पासवर्डसम्मका विवरण डार्क वेबमा पुगेका छन् ।

साइबर सुरक्षा अनुसन्धानका क्रममा ‘कुर्जानो’ नाम प्रयोग गर्ने ह्याकर समूहसँग सम्बन्धित गतिविधिमा रास्वपा सदस्यका विवरण भेटिएको स्रोतको दाबी छ । करिब ९ जीबीको एउटा फाइलमै ६० देखि ७० जना सदस्यका लगइन विवरण भेटिएको बताइएको छ ।

परीक्षण गरिएका केही अकाउन्ट अझै चल्ने अवस्थामा रहेको दाबी गरिएको छ । कतिपय सदस्यको यूजरनेम र पासवर्ड नै मोबाइल नम्बर रहेको भेटिएको स्रोतको भनाइ छ ।

मोबाइल नम्बर नै पासवर्ड भएपछि कुरा के रह्यो र? सदस्यको मोबाइल नम्बर थाहा पाउनेले नै उसको डिजिटल सदस्यता ड्यासबोर्डसम्म पुग्न सक्ने अवस्था रहेको दाबी गरिएको छ ।

त्यहाँ सदस्यको नाम मात्रै होइन, नागरिकताको अगाडि र पछाडिको भाग, मतदाता परिचयपत्र, फोटो, मोबाइल नम्बर र इमेललगायतका विवरणसमेत रहेको जनाइएको छ ।

यस्ता विवरण डार्क वेबका विभिन्न प्लेटफर्म तथा मेसेजिङ च्यानलमा बिक्रीका लागि राखिएको दाबीसमेत गरिएको छ ।

करिब ९ जीबीको भनिएको फाइलमा दर्जनौँ सदस्यका लगइन विवरण एकैपटक भेटिनुले यो कुनै एउटा सदस्यको अकाउन्ट चोरीको मात्रै विषय नभएको आशंका गरिएको छ । सदस्यता प्रणालीबाटै ठूलो परिमाणमा विवरण बाहिरिएको हो कि भन्ने प्रश्न यसले उठाएको छ ।

त्यसमाथि लिक भएको भनिएको विवरणमा वास्तविक सदस्यका मोबाइल नम्बर र पासवर्डसमेत रहेको दाबी छ । पासवर्डका रूपमा मोबाइल नम्बर नै प्रयोग गरिएको हो भने रास्वपाको डिजिटल सुरक्षाको स्तरमाथि पनि प्रश्न उठ्ने देखिन्छ ।

साइबर सुरक्षासम्बन्धी जानकारहरूका अनुसार नागरिकता र मतदाता परिचयपत्रजस्ता कागजात बाहिरिनु सामान्य पासवर्ड लिक हुनुभन्दा गम्भीर विषय हो । यस्ता विवरण पहिचान चोरी, नक्कली परिचय निर्माण तथा विभिन्न डिजिटल ठगीमा दुरुपयोग हुन सक्ने जोखिम हुन्छ ।

रास्वपाको डिजिटल सदस्यता प्रणाली विवादमा परेको यो पहिलोपटक भने होइन ।

गत असारमा पार्टीको महाधिवेशनका क्रममा सार्वजनिक गरिएको सदस्यता विवरणमा १८ वर्षमुनिका ३५ हजारभन्दा बढी व्यक्तिको नाम देखिएपछि पनि प्रश्न उठेको थियो । त्यसबेला पार्टीले उक्त विवरण प्रारम्भिक तथा अप्रमाणित आवेदनको डाटा भएको र प्राविधिक त्रुटिका कारण त्यस्तो देखिएको स्पष्टीकरण दिएको थियो ।

अहिले भने त्यही डिजिटल प्रणालीबाट सदस्यका नागरिकता, मतदाता परिचयपत्रदेखि पासवर्डसम्म बाहिरिएको दाबी सार्वजनिक भएको छ ।

सदस्यता अभियानका क्रममा ठूलो संख्यामा नागरिकका व्यक्तिगत विवरण संकलन गरेको रास्वपाले ती विवरण कसरी सुरक्षित राखेको थियो भन्ने प्रश्न अब झन् पेचिलो बनेको छ ।

गुगललाई किन गरियो ४० करोड ३० लाख युरो जरिवाना?

काठमाडौं। आयरल्यान्डको डेटा संरक्षण आयोग (डीपीसी)ले प्रयोगकर्ताको लोकेसन डेटा प्रयोगसम्बन्धी नियम उल्लंघन गरेको भन्दै गुगलमाथि ४० करोड ३० लाख युरो अर्थात् करिब ७० अर्ब ९२ करोड ८० लाख रुपैयाँ जरिवाना गरेको छ। यो आयरिस डेटा सुरक्षा निकायले लगाएको ठूलो जरिवानामध्ये एक हो।

गुगलको लोकेसन डेटा प्रयोगबारे डीपीसीले करिब ६ वर्षअघि अनुसन्धान सुरु गरेको थियो। युरोपका विभिन्न उपभोक्ता अधिकार संस्थाले गुगलविरुद्ध उजुरी गरेपछि अनुसन्धान अघि बढाइएको हो।

डीपीसीका अनुसार गुगलले लोकेसन डेटा प्रयोग गर्दा त्यससम्बन्धी प्रक्रिया कानुनी, निष्पक्ष र पारदर्शी नभएको अनुसन्धानबाट देखिएको छ। अनुसन्धानमा गुगलका ‘वेब एन्ड एप एक्टिभिटी’, ‘लोकेसन हिस्ट्री’ र ‘लोकेसन एक्युरेसी’ सेवामार्फत लोकेसन डेटा प्रयोग भएको विषय समेटिएको थियो। सन् २०१८ को मे २५ देखि २०२० को फेब्रुअरी ४ सम्मको अभ्यासलाई अनुसन्धानको दायरामा राखिएको थियो।

डीपीसीका उपआयुक्त ग्राहम डोयलले लोकेसन डेटाबाट व्यक्तिको गतिविधि र निजी जीवनसँग सम्बन्धित संवेदनशील जानकारीसमेत प्राप्त गर्न सकिने बताएका छन्। उनका अनुसार युरोपेली संघको जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर)ले व्यक्तिगत डेटा कानुनी, निष्पक्ष र पारदर्शी रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ।

डीपीसीको निष्कर्षअनुसार गुगलले उक्त अवधिमा जीडीपीआरका केही प्रावधान पालना नगरेको पाइएको हो। जीडीपीआर सन् २०१८ को मे २५ देखि लागू भएको युरोपेली संघको व्यक्तिगत डेटा संरक्षणसम्बन्धी कानुन हो।

गुगलले भने डीपीसीको निर्णय पुराना नीतिसँग सम्बन्धित रहेको जनाएको छ। कम्पनीका अनुसार सन् २०१९ पछि लोकेसन डेटा व्यवस्थापनसम्बन्धी आफ्ना प्रक्रिया परिवर्तन गरिएका छन् र प्रयोगकर्तालाई डेटा नियन्त्रण गर्न थप उपकरण उपलब्ध गराइएको छ।

गुगलले खातामा रहेको डेटा निश्चित अवधिपछि स्वतः मेटिने ‘अटो-डिलिट कन्ट्रोल’ तथा व्यक्तिगत विज्ञापन व्यवस्थापन गर्ने सुविधासहित डेटा सुरक्षाका विभिन्न उपाय लागू गरिएको जनाएको छ। कम्पनीले लोकेसन डेटा र खाता सेटिङ्ससम्बन्धी जानकारी प्रयोगकर्तालाई सहज रूपमा उपलब्ध गराएर पारदर्शिता बढाइएको दाबीसमेत गरेको छ।

एआईको विकास सुस्त पार्नुपर्ने विज्ञहरुको चेतावनी

काठमाडौं। विज्ञहरुले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास तीव्र गतिमा अघि बढिरहेको भन्दै त्यसलाई केही समय सुस्त पार्नुपर्ने बताएका छन्। एआईको क्षमता बढ्ने क्रमसँगै त्यसको सुरक्षा र नियन्त्रणका उपाय पर्याप्त रूपमा विकास हुन नसकेको भन्दै सम्भावित जोखिमबारे विज्ञहरुले चेतावनी दिएका हुन्।

उनीहरुका अनुसार पर्याप्त नियन्त्रणबिना विकसित एआई एजेन्टले आगामी ६ देखि १२ महिनामै साइबर आक्रमणका लागि प्रयोग हुने ठूलो ‘बोटनेट’ निर्माण गर्न सक्ने जोखिम छ। बोटनेट संक्रमित वा नियन्त्रणमा लिइएका कम्प्युटरहरूको सञ्जाल हो, जसलाई साइबर आक्रमणमा प्रयोग गर्न सकिन्छ।

एआई प्रणालीले विकासकर्ताले अपेक्षा नगरेका तरिकाबाट लक्ष्य पूरा गर्न थालेका घटनाले पनि सुरक्षा चिन्ता बढाएको छ। परीक्षणका क्रममा केही एआई एजेन्टले सीमित वातावरणका कमजोरीको फाइदा उठाएर बाह्य प्रणालीमा पहुँच बनाएको बताइन्छ।  यही सम्बन्धित अर्काे घटनामा जिमको बुकिङ प्रणालीको कमजोरी प्रयोग गरी निर्धारित समयभन्दा अगावै आरक्षण गरेको विवरण सार्वजनिक भएका छन्।

यससँगै एआईले आफूभन्दा अझ सक्षम प्रणाली निर्माण गर्न सहयोग गर्ने ‘रिकर्सिभ सेल्फ-इम्प्रुभमेन्ट’ को सम्भावनाबारे पनि बहस भइरहेको छ। यस्तो क्षमता विकास भए एआईको प्रगति अपेक्षाभन्दा तीव्र हुन सक्ने चिन्ता व्यक्त भइरहेका छन्।

एआईका सम्भावित जोखिममा साइबर आक्रमण, संवेदनशील डेटा चोरी, वित्तीय प्रणालीमा अस्थिरता तथा जैविक सुरक्षामा दुरुपयोगसम्मका विषय समेटिएका छन्। यद्यपि यस्ता जोखिमका सम्भावित परिदृश्यबारे विज्ञहरूबीच मतभेद पनि छ।

कांग्रेसको क्षेत्रीय अधिवेशन कहिले र कहाँ?

काठमाडाैं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरीय अधिवेशन विभिन्न जिल्लामा फरक-फरक मितिमा भइरहेको छ। निरन्तर वर्षाका कारण असोज १० गतेका लागि तय गरिएको अधिवेशन प्रभावित भएपछि केन्द्रीय निर्वाचन समितिले जिल्लाको स्थानीय अवस्था हेरेर असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्न समय दिएको थियो।

सोहीअनुसार आइतबार १३ जिल्लामा क्षेत्रीय अधिवेशन भइरहेको छ। निर्वाचन समितिका अनुसार झापा, मोरङ, काठमाडौं, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालीकोट र सुर्खेतमा आइतबार अधिवेशन आयोजना गरिएको छ।

त्यस्तै, सोमबार असोज १२ गते २९ जिल्लामा क्षेत्रीय अधिवेशन हुने तय भएको छ। ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, नवलपुर, रुपन्देही, गुल्मी, दाङ, सल्यान, बाजुरा, बझाङ, अछाम र कैलालीमा सोमबार अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ।

यसैगरी असोज १३ गते सुनसरी, नुवाकोट, मकवानपुर, नवलपरासी, बर्दिया र दैलेखमा क्षेत्रीय अधिवेशन गर्ने तयारी छ। इलाममा भने असोज १४ गते अधिवेशन गर्ने तालिका बनाइएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार १७ जिल्लाले भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १० गते नै संघीय तथा प्रदेश निर्वाचन क्षेत्रस्तरीय अधिवेशन सम्पन्न गरिसकेका छन्।

वर्षाका कारण निर्धारित मितिमा अधिवेशन गर्न नसकेका अन्य जिल्लालाई पनि असोज १३ गतेभित्र प्रक्रिया पूरा गर्न भनिएको छ।

जेठी श्रीमतीबारे के भन्छन् हर्क?

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको पारिवारिक जीवनसँग जोडिएको पुरानो अदालतको फैसला सामाजिक सञ्जालमा भाइरल भएपछि उनले त्यसबारे सार्वजनिक स्पष्टीकरण दिएका छन्।

साम्पाङले जेठी पत्नी दिलमाया राईसँग आफू कानुनीरूपमै अलग भइसकेको दाबी गरेका छन्। उनले यो विषय आजभन्दा करिब २० देखि २५ वर्षअघिको भएको र लामो समय पर्खिएपछि दिलमायाकै इच्छाअनुसार अलग भएको बताएका छन्।

तर, सामाजिक सञ्जालमा भाइरल भइरहेको सुनसरी जिल्ला अदालतको फैसलाको विषय भने अंशसम्बन्धी मुद्दासँग जोडिएको देखिन्छ। दिलमायाले २०७३ असोज ६ गते दायर गरेको मुद्दामा न्यायाधीश मणिराम न्यौपानेको इजलासले २०७६ असार १२ गते फैसला गरेको थियो।

फैसलामा हर्कराज राईसहित उनका दाजुहरू आशयकुमार राई र एकराज राई, आमा जसमाया राई तथा धनकुमारी राई गरी पाँच अंशियार कायम गरिएको छ। सगोलको सम्पत्ति पाँच भाग लगाएर हर्कराजको भागबाट दिलमाया र छोरी एलिसासहित तीन भाग लगाई दिलमायालाई एक भाग अंश दिनुपर्ने अदालतको ठहर छ।

दिलमायाले अदालतमा दिएको फिरादपत्रमा वैवाहिक जीवनदेखि नै आफूलाई झैझगडा तथा कुटपिट हुने गरेको र हर्कराजले परस्त्रीसँग सम्बन्ध राखेको आरोप लगाएकी थिइन्। प्रहरीमा उजुरी गरेपछि आफूलाई घरबाट निकालिएको दाबीसमेत उनको फिरादपत्रमा उल्लेख थियो। यी विवरणहरू भने दिलमायाले अदालतमा गरेको दाबी हुन्, अदालतले ती आरोपलाई छुट्टै फौजदारी कसुरका रूपमा पुष्टि गरेको भन्ने विवरण फैसलामा देखिँदैन।

साम्पाङले भने आफूले जेठी श्रीमतीमाथि घरेलु हिंसा नगरेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा फैलिएका आरोपलाई उनले अस्वीकार गर्दै मानिसको आफ्नै विगत हुने बताएका छन्।

कन्टेन्ट क्रिएटरहरूसँगको कुराकानीमा साम्पाङले आफू प्रश्नबाट नभाग्ने बताएका छन्। उनका अनुसार १२ वर्षसम्म पर्खिएपछि पनि पुनर्मिलनको अवस्था नबनेपछि जेठी श्रीमतीकै इच्छाअनुसार आफूहरू अलग भएका हुन्।

छोरी एलिसाको हेरचाह नगरेको भन्दै सामाजिक सञ्जालमा उठेका प्रश्नको पनि उनले खण्डन गरेका छन्। छोरीलाई आफूले पढाएको र विवाह नभएसम्म आफूसँगै राखेर हुर्काएको उनको दाबी छ।

अदालतको पुरानो फैसला अहिले सामाजिक सञ्जालमा चर्चामा आएपछि पारिवारिक सम्बन्ध, अंशसम्बन्धी मुद्दा र साम्पाङको पछिल्लो स्पष्टीकरण एकैपटक बहसमा आएका छन्।

कुलेखानी जलाशयको सतह १,५२६.५० मिटरमा, पूर्ण क्षमतामा विद्युत् उत्पादन

काठमाडौं । लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढेर १ हजार ५२६.५० मिटर पुगेको छ।

कुलेखानी प्रथम आयोजनाका प्रमुख प्रह्लाद राउतका अनुसार आइतबार दिउँसो २ बजेसम्म जलाशयको पानीको सतह उक्त उचाइमा पुगेको हो। जलाशयमा अधिकतम १ हजार ५३० मिटरसम्म पानी भण्डारण गर्न सकिन्छ।

हाल आयोजना क्षेत्रमा वर्षा रोकिएको छ। जलाशयको पानीको सतह सुरक्षित तहमा राख्न कुलेखानी जलविद्युत् केन्द्रलाई चौबीसै घण्टा पूर्ण क्षमतामा सञ्चालन गरिएको छ।

साथै,जलाशयको सतह थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सुरक्षात्मक उपाय अपनाउन सम्पूर्ण संयन्त्र तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।

धनुषामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु

धनुषाको मिथिला नगरपालिका-११ आँपगाछीमा पहिरो खस्दा घर पुरिएर एक महिलाको मृत्यु भएको छ। घटनामा घरभित्र रहेका अन्य चार जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान ९ः१० बजे राजन श्रेष्ठको एकतले टालीको छानो भएको घरमाथि पहिरो खसेको थियो। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवर तथा मातहतका प्रहरी र सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय भिमानबाट संयुक्त प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो।

साथै, उद्धारका क्रममा बिहान ११ बजे राजनकी श्रीमती अन्दाजी ३५ वर्षीया कमला श्रेष्ठलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतककाे शव परीक्षणका लागि महोत्तरीको सरकारी अस्पताल बर्दिबास पठाइएको छ।

काठमाडौं आउने सबैजसो बाटो बन्द, हेटौंडामा सवारीको लाम [तस्वीरहरू]

हेटौंडा। लगातारको वर्षासँगै आएको बाढीपहिरोले काठमाडौं जोड्ने प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि हेटौंडामा सवारीसाधनको चाप बढेको छ।

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिङ सडकका विभिन्न स्थानमा अवरोध भएपछि काठमाडौं जाने मालवाहक ट्रक तथा यात्रुवाहक बसहरू वैकल्पिक मार्गतर्फ मोडिएका छन्।

तर हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ, फाखेल र सिस्नेरी सडकखण्डमा समेत ठाउँठाउँमा अवरोध भएपछि अहिले त्रिभुवन राजपथमा सवारीको चाप बढेको हो।

सडकको अवस्था र सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले सवारी सञ्चालनको समय तथा भारसम्बन्धी सीमा तोकेको छ। त्यसका कारण हेटौंडा क्षेत्रमा काठमाडौं जाने मालवाहक तथा यात्रुवाहक सवारीको लामो लाइन देखिएको छ।

मुख्य सडकमा अवरोध हुँदा वैकल्पिक मार्गमा समेत सवारीको चाप बढेपछि हेटौंडाबाट काठमाडौं जाने यात्रु तथा चालकहरूलाई थप समय लाग्ने अवस्था बनेको छ।


 

ढाकाटोपीमा शारोन वर्मा, पहिलोपटक नेपालमा ‘कमेडी डोज’

काठमाडौं। भारतीय स्ट्यान्डअप कमेडीमा चर्चित नाम शारोन वर्मा पहिलोपटक नेपाल आइपुगेकी छन्।

नेपाल आएलगत्तै नेपाली ढाकाटोपी लगाएर फूलको गुच्छासहित उनको स्वागत गरिएको छ।

वर्माले आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा ‘शारोन वर्मा लाइभ’ प्रस्तुति दिनेछिन्। पिनाकल इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रम अपराह्न ४ः३० बजे सुरु हुनेछ।

आत्मव्यंग्यात्मक शैलीमा कमेडी प्रस्तुत गर्ने वर्मा भारतको चर्चित कार्यक्रम ‘इन्डियाज गट लेटेन्ट’मा प्रस्तुति दिएपछि थप चर्चामा आएकी हुन्।

नेपालमा उनको यो पहिलो प्रत्यक्ष स्ट्यान्डअप प्रस्तुति हो। नेपाल आइपुगेपछि सामाजिक सञ्जालमा समेत उनको स्वागतका तस्बिर सार्वजनिक भएका छन्।

सोधपुछपछि परिवारको जिम्मा लगाइए पूर्वप्रधानन्यायाधीश जबरा

काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले सोधपुछपछि परिवारको जिम्मा लगाएको छ।

महाराजगञ्जस्थित निवासबाट गएराति प्रहरी नियन्त्रणमा लिइएका जबरालाई आइतबार सोधपुछपछि परिवारको जिम्मा लगाइएको हो। सुरुमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरे पनि पछि सुरक्षा चुनौती देखिएपछि सुरक्षित स्थानमा ल्याइएको बताएको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार जबरामाथि कुनै मुद्दा चलाउने तयारी नरहेको र उनलाई सुरक्षा चुनौतीका कारण कार्यालयमा ल्याइएको थियो। प्रहरीले सुरक्षा चुनौतीको प्रकृति भने खुलाएको छैन।

जबरालाई राति करिब ३ बजे महाराजगञ्जस्थित निवासबाट प्रहरीले टेकुस्थित कार्यालयमा ल्याएको थियो। घटनापछि उनलाई पक्राउ गरिएको हो कि सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो भन्ने विषयमा केही समय अन्योल देखिएको थियो।

सोधपुछपछि भने प्रहरीले जबरालाई परिवारकै जिम्मा लगाएर छाडेको हो।

उर्लियो सेती, रामघाटमा बन्यो ताल; तटीय बस्ती जोखिममा

पोखरा। अविरल वर्षाका कारण सेती नदीको बहाव बढेपछि पोखराको रामघाट क्षेत्रमा ताल बनेको छ।

नदीको जलसतह बढ्दै गएपछि रामघाट आसपासका क्षेत्रमा जोखिम बढेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले सेती नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले नदी किनारमा अनावश्यक रूपमा नजान तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित रहन आग्रह गरेको छ।

 

न्यूनचापीय प्रणाली कमजोर बन्दै, आजदेखि वर्षाको गतिविधि घट्ने

काठमाडौं । भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएसँगै नेपालमा भइरहेको वर्षाको गतिविधि पनि क्रमशः कम हुँदै जाने मौसमविद्हरूले बताएका छन्। यद्यपि आइतबार देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभागनजिक रहेकाले पछिल्लो समय ती क्षेत्रमा वर्षाको गतिविधि बढी केन्द्रित भएको हो।

यस प्रणालीसँगै बंगालको खाडीबाट जलवाष्प बोकेको हावा पनि नेपालतर्फ प्रवेश गरेपछि शनिबार राति मध्य भूभागमा वर्षाको गतिविधि बढेको थियो।

तर अहिले न्यूनचापीय प्रणाली कमजोर भइसकेको र त्यसको प्रभावसमेत क्रमशः घट्दै गएकाले वर्षाको गतिविधि पनि कम हुँदै जानेछ। आइतबार भने प्रणालीको बाँकी प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षा जारी रहनेछ।

पूर्वानुमानअनुसार सुदूरपश्चिम प्रदेशका हिमाल, पहाड र तराईका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णालीदेखि पूर्वतर्फ मधेश प्रदेशसम्मका विभिन्न क्षेत्रमा पनि दिउँसो वर्षा हुन सक्नेछ। कोशी प्रदेशको पूर्वी भूभागमा भने तुलनात्मक रूपमा कम वर्षा हुने अनुमान गरिएको छ।

मधेश, बागमतीको तल्लो भूभाग तथा चितवन आसपास, गण्डकीका तल्लो तथा पहाडी क्षेत्र, हिमाली भूभाग, लुम्बिनीका दक्षिणी क्षेत्र र सुदूरपश्चिमका हिमाल, पहाड तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्हरुले बताएका छन्।

तिनाउको बाढीले बेथरीका ६० घर डुबानमा

रुपन्देही । तिनाउ नदीमा आएको बाढीका कारण रुपन्देहीको मायादेवी गाउँपालिका–२, बेथरीका ६० घर डुबानमा परेका छन्। बाढीको पानी घरभित्र पस्दा केही घरमा क्षतिसमेत पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

नदीको बहाव बढेसँगै बेथरीका ६० घरमा पानी पसेर डुबान भएको प्रहरीले जनाएको हो। डुबानमा परेका परिवारको अवस्था बुझ्न तथा उद्धारका लागि प्रहरी वरिष्ठ नायव निरीक्षक बालबहादुर घर्तीको नेतृत्वमा उद्धार टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

प्रहरीका अनुसार डुबानमा परेका घरका सदस्यलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयास भइरहेको छ। निरन्तर वर्षाका कारण नदीको बहाव थप बढ्न सक्ने भएकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

धनुषामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु

धनुषा । अविरल वर्षाका कारण पहिरो खस्दा धनुषाको मिथिला नगरपालिका–११ चुरेस्थित आँपगाछीमा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पहिरोले घर पुरिँदा ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो।

आइतबार बिहान आँपगाछीका राजन श्रेष्ठको एकतले टालीको छानो भएको घरमाथि पहिरो खसेको थियो। पहिरो खस्दा घरभित्र पाँच जना परिवारका सदस्य रहेका थिए। उनीहरूमध्ये चार जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार करिब ११ बजेतिर पहिरोमा पुरिएकी कमलालाई मृत अवस्थामा उद्धार गरिएको हो। लगातार वर्षा भइरहेकाले चुरे क्षेत्रका बस्तीमा पहिरोको जोखिम बढेको छ।

नारायणीमा बाढीको खतरा, सतर्कता तह पार [तस्वीरहरू]

चितवन। लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगेको छ।

पानीको बहाव बढेसँगै नारायणी आसपासका नदी तटीय क्षेत्रमा जोखिम बढेको छ। नदीको बहाव बढेपछि आसपासका बस्तीमा समेत बाढी पस्ने जोखिम रहेको छ।

 

उर्लियो त्रिशूली, भासियो मनकामना केबलकारको सडक; सेवा बन्द [तस्वीरहरू]

चितवन। लगातारको वर्षासँगै त्रिशूली नदीमा आएको तीव्र बहावले चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ।

गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा नदीको बहावले निरन्तर प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो।

इच्छाकामना–४ का वडाध्यक्ष रुद्र उप्रेतीका अनुसार वर्षासँगै नदीले धार परिवर्तन गरेको छ। नदीको तीव्र बहावले झोलुङ्गे पुलमा लगातार दबाब पर्दा मुख्य राजमार्गमा समेत चिरा परेको र भित्री सडक भासिएको उनले बताए।

सडक भासिएपछि मनकामना केबलकार सेवा बन्द गरिएको छ। नदीको बहाव अझै तीव्र रहेकाले पुल र आसपासका क्षेत्रमा थप क्षति हुन सक्ने जोखिम रहेको वडाध्यक्ष उप्रेतीले बताएका छन्।


 

के वालेन्द्रलाई हटाएर प्रधानमन्त्री बन्न खोज्दै थिए चोलेन्द्र?

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेपाल आइपुगेको ५ घण्टा नबित्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा पक्राउ परे । अहिले उनी प्रहरी हिरासतमा छन् । भनिन्छ, राणाले राजनीतिक चलखेल निकै तीब्र पारेका थिए । स्रोतको दाबीमा उनले आफू प्रधानमन्त्री बन्ने मेलोमेसो मिलाइरहेका थिए । त्यसका लागि देशी-विदेशी शक्ति केन्द्रसँग उनको उठबस भइरहेको थियो ।

केही दलहरुले दसैं तिहारपछि देशमा ठूलो आन्दोलन हुने र त्यो आन्दोलनले बालेन सरकार ढाल्ने चेतावनी दिइरहेका थिए । त्यसरी बालेन सरकार ढालेपछि पूर्वप्रधानन्यायाधीश राणा प्रधानमन्त्री हुने चर्चा पनि थियो । केही राजनीतिक विश्लेषकहरुले पनि त्यस्तै टिप्पणी गरिरहेका थिए । यस्तोमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर फर्किएको केही घण्टामै राणा पक्राउ परेका हुन् ।

काठमाडौंको बाँसबारीस्थित निवासबाट पक्राउ परेका राणा यतिबेला अपराध अनुसन्धान कार्यालय टेकुको हिरासतमा छन् । प्रहरीले भने जेनजीबाट उनी असुरक्षित भएको थाहा पाएपछि सुरक्षाका लागि नियन्त्रणमा लिएको जनाएको छ र पक्राउ गरेको अस्वीकार गरेको छ ।

तर, राणाको विगत राम्रो छैन । उनी निकै विवादित पूर्वप्रधानन्यायाधीश हुन् । उनी प्रधानन्यायाधीश भएकै बेला सर्वोच्च अदालतमा भ्रष्टाचार मौलाएको आरोप लाग्यो । विचौलियाको रजगज चलेको आरोप लाग्यो ।

२०७८ फागुन १ गते त उनीविरुद्ध प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भयो। त्यसपछि उनी निलम्बित भए। महाभियोग टुंगो नलाग्दै उनको कार्यकाल समाप्त भयो।

उनको कार्यकालमा न्यायालयभित्रै ठूलो असन्तुष्टि देखिएको थियो। नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रियो।
न्यायाधीशहरूले इजलासमा बस्न अस्वीकार गरे । न्यायलय ठप्प भयो ।

कतिसम्म भने देउवा मन्त्रिपरिषदमा उनले भागबण्डा खोजेको आरोप लाग्यो । हुन पनि सांसदसमेत नरहेका उनका जेठान गजेन्द्र हमाल उद्योग वाणिज्यमन्त्री भए । हमाललाई चोलेन्द्रको कोटाबाट मन्त्री बनाएको भन्दै आलोचना देशव्यापी चुलियो । विरोध सडक र सदनमा भयो । अन्ततः हमालले केही दिनमै मन्त्रीबाट राजीनामा दिए ।

तर राणाको सबैभन्दा चर्चित विवादमध्ये एउटा रञ्जन कोइराला प्रकरण हो।

जबराको इजलासले पत्नी गीता ढकालको हत्यामा दोषी ठहर भएका तत्कालीन डीआईजी रञ्जन कोइरालाको २० वर्षको कैद घटाएर ८ वर्ष ६ महिना कायम गरेको थियो। त्यसपछि कोइराला जेलबाट छुटे। उनले त्यसबेला कोइरालालाई सजाय चर्को भएको चित्तमा परेको भन्दै घटाएको तर्क गरेका थिए । दुई छोराको अभिभावकसमेत कोइराला भएकाले उनीहरुको संरक्षणका लागि भए पनि सजाय घटाउनु न्यायोचित हुने जिकिर गरेका थिए । तर, सर्वोच्चकै अर्को पूर्ण इजलासले २०७९ जेठ १२ गते त्यो फैसला उल्टायो। २० वर्षकै कैद कायम भयो।

यही घटनाले एउटा गम्भीर प्रश्न जन्मायो।

कानुनको शासन भनेको न्यायाधीशको व्यक्तिगत चित्त हो कि स्थापित कानुनी सिद्धान्त?

जबराको न्यायिक यात्रामा अन्य विवादित फैसला पनि चर्चामा आए। तत्कालीन पुनरावेदन अदालत विराटनगरमा छँदा उनले म्यारिज खेललाई दिमागी खेल भन्दै जुवातास भन्न नमिल्ने फैसला गरे । जुन फैसला निकै विवादित बन्यो ।

यति मात्रै होइन, उनका अरु पनि विवादित फैसला र आदेश थिए । उनले न्याय क्षेत्रप्रति अविश्वास थप फैलाउने फैसला एकपछि अर्को गरेको आरोप लाग्यो ।

उनै राणाविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शासकीय मामिला तथा न्यायिक कामकारबाहीमा चलखेल गरेको आरोपमा उजुरी परेको थियो । राणाले आफूलाई राजनीतिक रुपमा सक्रिय बनाएर भावी कुनै पदका लागि महत्वकांक्षा राखेको दाबी स्रोतको छ ।

अदालतमा विचाराधीन मुद्दामा चासो र रुचि देखाएको आरोप छ । खासगरी डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश भएपछि बाँसबारीस्थित निवासबाट राजनीतिक र न्यायिक चलखेल थालेको र महत्वपूर्ण मुद्दामा जोडिएका व्यक्तिहरु उनको घरमा जाने फर्किने गरेको र त्यसबारे सुरक्षा निगरानी बालेन सरकारले बढाएको थियो ।

भनिन्छ, उनले नेपाल टेलिकमको बहुचर्चित टेरामक्स प्रकरण र वीरगञ्जका मेयर राजेशमान सिंहले सफाइ पाएको मुद्दाअघि मुद्दाका सरोकारवालासँग छलफल गरेका थिए ।

यिनै घटनाक्रमबीच राणालाई बालेन सरकारले पक्राउ गरेको हो । पक्राउका क्रममा पक्राउ पुर्जी वा आरोपबारे जानकारी नदिइएको जनाएको छ। अर्कोतर्फ, प्रहरीका एक अधिकारीले सुरक्षा चुनौतीका कारण उनलाई सुरक्षित राख्न नियन्त्रणमा लिइएको बताएका छन्।

चोलेन्द्रशमशेर राणालाई पक्राउ गरिएको होइन!

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ नगरिएको बताएका छन्।

खड्काका अनुसार राणाको जीवनमा गम्भीर खतरा रहेको सूचना आएपछि सुरक्षाका लागि उनलाई कार्यालयमा ल्याइएको हो।

नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘हामीलाई राति नै उहाँको जीवनमाथि गम्भीर खतरा आएको सूचना प्राप्त भयो। त्यसपछि सुरक्षा दिने क्रममा हामीले उहाँलाई साथमा लिएर आएका हौँ।’

खड्काले राणा अहिले पनि सुरक्षाका लागि प्रहरीसँगै रहेको बताए। उनको सुरक्षामा कुनै जोखिम नरहेको सुनिश्चित भएपछि घर पठाउने वा अन्य सुरक्षित स्थानमा राख्नेबारे निर्णय गरिने उनले जानकारी दिए।

‘उहाँजत्तिको प्रोटोकल भएको व्यक्तिलाई हामीले यत्तिकै पक्राउ गर्ने भन्ने हुँदैन। अहिले पनि सुरक्षाका लागि हामीसँगै हुनुहुन्छ। उहाँ सुरक्षित हुने सुनिश्चिततापछि घर पठाउने वा अन्यत्र सुरक्षित राख्ने भन्ने कुरा हुन्छ,’ खड्काले भने।

उनका अनुसार राणालाई पक्राउ गरिएको नभई सुरक्षा प्रयोजनका लागि साथमा ल्याइएको हो। अहिलेसम्म उनको सुरक्षासम्बन्धी अवस्थाबारे थप सूचना नआएको पनि खड्काले बताए।

मध्यराति जबरा नियन्त्रणमा, पक्राउ पुर्जीसमेत नदिएको भन्दै पोखरेलको आपत्ति

काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाराजगञ्जस्थित निवासबाट मध्यराति नियन्त्रणमा लिइएको घटनाप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले जबरालाई पक्राउ गरिएको घटनालाई नेपालको प्रचलित कानुन र न्याय प्रणालीसँग जोडेर प्रश्न उठाएका छन्। उनले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भएको दाबी गरेका छन्।

पोखरेलले गलत र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको टिप्पणी गर्दै सबैलाई यस्ता गतिविधिविरुद्ध खबरदारी गर्न आग्रह गरेका छन्।

जबरालाई आइतबार बिहान करिब ३ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट टेकुस्थित कार्यालयमा लगेको हो। प्रहरीका अनुसार उनलाई सुरक्षा चुनौती देखिएपछि सुरक्षित स्थानमा राख्न कार्यालय ल्याइएको थियो। प्रहरीले उनलाई पक्राउ पुर्जी नदिएको र उनीविरुद्ध मुद्दा चलाउने योजना नरहेको जनाएको छ।

यसअघि विभिन्न सञ्चारमाध्यमले जबरालाई पक्राउ गरिएको र उनीविरुद्ध उजुरी परेको उल्लेख गरेका थिए। तर, प्रहरीले आइतबार सार्वजनिक गरेको पछिल्लो विवरणमा उनलाई सुरक्षा चुनौतीका कारण कार्यालय ल्याइएको बताएको छ।

जबराविरुद्ध २०७८ फागुनमा प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। हालै सर्वोच्च अदालतको संवैधानिक इजलासले महाभियोगसम्बन्धी विवादमा रिटहरू खारेज गर्दै प्रस्तावको औचित्य समाप्त भएको ठहर गरेको थियो।

अविरल वर्षाले देशभर बाढी-पहिरोको वितण्डा, ११ जनाको मृत्यु

काठमाडौं। बिहीबारदेखि लगातार परेको वर्षाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र नदी कटानको समस्या बढाएको छ। कतै बस्तीमा नदी पसेको छ, कतै पहिरोले घर पुरेको छ। सडक र पुल भत्किँदा यातायात अवरुद्ध भएको छ भने केही ठाउँमा सञ्चार सेवासमेत प्रभावित भएको छ।

पछिल्ला चार दिनमा मात्रै बाढी र पहिरोका घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ। केही व्यक्ति अझै बेपत्ता छन्। घर, सडक, पुल र विद्यालयमा क्षति पुगेको छ।

कालीगण्डकीमा पानीको बहाव मनसुन अवधिकै उच्च विन्दुमा पुगेपछि पर्वत, बागलुङ र स्याङ्जामा जोखिम बढेको छ। पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा आइतबार बिहान कालीगण्डकी बस्तीमा पस्दा २५ घर बगे। करिब ८० घर रहेको बस्तीका अन्य घर पनि जोखिममा छन्। मानवीय क्षति नभए पनि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ।

बागलुङको निसीखोला गाउँपालिका–३ मा भने पहिरोले एकै परिवारका चार जनाको ज्यान लिएको छ। घर पुरिँदा श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। प्रहरीले तीन जनाको शव निकालिसकेको छ।

पाल्पामा पनि पहिरोले एक जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता छन्। माथागढी गाउँपालिका–२ रुप्सेमा घर पुरिँदा घाइते भएका ७५ वर्षीय शेरबहादुर चिदीलाई स्वास्थ्यचौकी पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

माथागढी–३ भैसकट्टामा पहिरोले दुई घर पुरिँदा ७५ वर्षीय लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता छन्। उनीहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पहिरोमा परी चार जनाको मृत्यु भएको छ। वडा नम्बर ३ दानामा घर पुरिँदा दुई जना र वडा नम्बर ५ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताएका छन्। सडक अवरुद्ध भएकाले घटनास्थल पुग्न कठिनाइ भइरहेको छ। उद्धारका लागि हेलिकप्टरको समन्वय भइरहेको छ।

वर्षाले स्याङ्जाको सेतीवेणी बजारलाई पनि डुबाएको छ। बाढीले पुल बगाएको छ। मनाङको ताल गाउँमा समेत बाढी पसेको छ। लमजुङको बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध छ भने स्याङ्जामा सिद्धार्थ राजमार्ग बन्द भएको छ। कर्णालीका प्रमुख राजमार्गदेखि बागलुङका विभिन्न सडकसम्म वर्षाको असर परेको छ।

चितवनमा नारायणी नदीको बाढी भरतपुर महानगरपालिका–१ को नदी किनारको बस्तीमा पसेको छ। घरभित्र पानी पसेपछि सामानमा क्षति पुगेको छ। आसपासका विद्यालय पनि डुबानमा परेका छन्। नारायणीको पानी खतरा तहभन्दा माथि पुगेपछि बाढी पूर्वानुमान महाशाखाले सोमबारसम्म सावधानी अपनाउन आग्रह गरेको छ।

मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा त्रिशूली नदीले सडक कटान गरेको छ। कटानका कारण सडकको करिब आधा भाग भासिएको छ। अहिले त्यहाँ एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

वर्षाको असर मोबाइल र इन्टरनेट सेवामा पनि परेको छ। नेपाल टेलिकमका विभिन्न ठाउँमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएका छन्। टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार समस्या कुनै एउटा क्षेत्रमा मात्र नभई ठाउँठाउँमा देखिएको छ। कतिपय ठाउँमा सेवा चले पनि गुणस्तर घटेको छ।

उता पश्चिम नेपालको हिम्लुङ हिमाल आधार शिविरमा भारी हिमपातपछि हिमपहिरो गएको छ। हिमपहिरोले बेस क्याम्पका टेन्ट पुरिँदा कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। आयोजकका अनुसार हिमालयन होलिडेज नेपालका आठ जना आरोही तथा सहयोगी कर्मचारी र इम्याजिन नेपाल ट्रेक्सका दुई जना किचन कर्मचारी सम्पर्कविहीन छन्।

मौसम बिग्रने चेतावनीपछि अधिकांश आरोही र कर्मचारी भने सुरक्षित रूपमा तल्लो क्षेत्रमा झरिसकेको आयोजकले जनाएको छ।

नारायणी उर्लिएपछि भरतपुर-१ मा पस्‍यो बाढी [तस्वीरहरू]

चितवन। नारायणी नदीमा आएको बाढी नदी किनारको बस्तीमा पस्दा भरतपुर महानगरपालिका–१ का स्थानीय प्रत्यक्ष प्रभावित भएका छन्।

नदीको पानी बस्तीमा पसेपछि केही घरभित्र बाढी पसेको छ। घरभित्र पानी पसेसँगै सरसामानमा क्षति पुगेको छ भने स्थानीयले घरमा रहेका सामान सुरक्षित स्थानमा सार्न थालेका छन्।

बाढीका कारण यस आसपासका विद्यालयसमेत डुबानमा परेका छन्। बस्तीमा पानीको सतह बढ्दै गएपछि स्थानीय त्रसित बनेका छन्।

नदीको बहाव बढिरहेकाले थप जोखिम हुन सक्ने भन्दै स्थानीयले सतर्कता अपनाएका छन्।

आजदेखि सुरु भयो सोह्र श्राद्ध [तस्वीरहरू]

काठमाडौं। दिवङ्गत पितृको सम्झनामा गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ। आज आश्विन कृष्ण प्रतिपदा तिथिको श्राद्ध गरिँदैछ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म पर्ने १६ वटा तिथिमा पितृको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गर्ने परम्परा रहेकाले यस अवधिलाई सोह्र श्राद्ध भनिन्छ। यसलाई अपर पक्ष वा प्रेत पक्षका रूपमा समेत चिनिन्छ।

वैदिक सनातन परम्पराअनुसार चाडपर्व, यज्ञयाग तथा अन्य शुभकार्यअघि पितृलाई श्रद्धापूर्वक सम्झने गरिन्छ। सोह्र श्राद्धका क्रममा पितृप्रति दायित्व पूरा हुने र पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास छ।

काठमाडौंको पशुपतिनाथ क्षेत्रसहित विभिन्न मन्दिर तथा नदी किनारमा सोह्र श्राद्ध गर्ने गरिन्छ। तर, पछिल्ला केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण यस वर्ष सोह्र श्राद्धको पहिलो दिन पशुपति क्षेत्रमा अघिल्ला वर्षमा जस्तो चहलपहल र भीड देखिएन।

पारिश्रमिक र सेवा सुविधाको माग गर्दै जेटस्टारका कर्मचारी आन्दोलनमा

अस्ट्रेलिया। अस्ट्रेलियाको प्रमुख बजेट एयरलाइन्स जेटस्टारका कर्मचारी पारिश्रमिक र सेवा सुविधासम्बन्धी माग राख्दै औद्योगिक आन्दोलनमा उत्रिएका छन्।

अस्ट्रेलियन सर्भिसेस युनियन (एएसयू) मा आबद्ध करिब एक हजार ग्राहक सेवा तथा विमानस्थल कर्मचारीले सेप्टेम्बर २३ र २४ मा औद्योगिक कारबाही गरेका थिए। उनीहरूले यात्रुलाई सेवा दिन जारी राखे पनि अतिरिक्त ब्यागेज, सिट परिवर्तन र ढिलो शुल्कलगायतका केही बिक्रीसम्बन्धी शुल्क नलिने वा शून्यमा रेकर्ड गर्ने गतिविधि गरेका थिए।

के मागिरहेका छन् कर्मचारी ?

युनियनले कर्मचारीको तलब वृद्धि, ओभरटाइम तथा पेनाल्टी दरमा सुधार, बिदासम्बन्धी सुविधा र रोजगारीको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ। त्यस्तै, पद कटौतीबाट संरक्षण तथा अत्यधिक गर्मी र खराब मौसममा काम गर्ने कर्मचारीको सुरक्षाको विषय पनि उठाएको छ।

जेटस्टारले भने तलब वृद्धि, पेनाल्टी भुक्तानी तथा भत्तामा सुधार र कामको रोस्टरमा थप लचकतासहितको प्रस्ताव अघि सारेको जनाएको छ। औद्योगिक कारबाहीका कारण उडान सञ्चालनमा ठूलो असर नपर्ने गरी तयारी गरिएको कम्पनीको भनाइ थियो।

सेप्टेम्बर २३ र २४ को औद्योगिक कारबाहीपछि जेटस्टारले युनियनसँग वार्ताका लागि पहल गरेको छ। एएसयूका अनुसार कम्पनीले सेप्टेम्बर २८, सोमबार हुने बैठकमा संशोधित प्रस्ताव पेस गर्नेछ।

त्यसअघि थप औद्योगिक कारबाही घोषणा गरिएको छैन। यसअघि वार्ता निष्कर्षमा पुग्न नसके थप आन्दोलन गर्न सक्ने संकेत युनियनले दिएको थियो।

अब कर्मचारीको अर्को कदम सोमबार हुने वार्ता र कम्पनीले पेस गर्ने संशोधित प्रस्तावमा निर्भर हुनेछ।

जेटस्टारको उडानबाट यात्रा गर्ने यात्रुलाई आफ्नो उडानको पछिल्लो अवस्था कम्पनीको आधिकारिक वेबसाइट वा एपमार्फत जाँच गर्न आग्रह गरिएको छ।

बाढीले पुल बगाएपछि कोरला नाकासँग सम्पर्क टुट्यो

म्याग्दीमा कालीगण्डकी नदीमा आएको बाढीले बेनी-जोमसोम-कोरला सडकअन्तर्गतको एक पुल बगाएपछि कोरला नाकासँगको यातायात सम्पर्क टुटेको छ।

अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगर र वडा नम्बर २ भुरुङ्ग-तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको हो।

रसुवाको भोटेकोशीमा आएको बाढीपछि मुख्य सडकमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको यो सडकखण्डसमेत बाढी र पहिरोका कारण अवरुद्ध भएको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार पुल बगेसँगै गाउँपालिकाका वडा नम्बर २, ३ र ४ तथा मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको छ।

यस्तै, अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा एउटा र वडा नम्बर ३ को फगाममा अर्को घर पहिरोमा पुरिएको छ। पुरिएका घरमा रहेका दुई जनाको खोजी भइरहेको छ।

बेनी-जोमसोम सडकअन्तर्गत खामभित्तामा समेत कालीगण्डकीले सडक कटान गरेको छ भने अन्नपूर्ण गाउँपालिका-४ घरापस्थित निलगिरि आधारभूत विद्यालयमा पनि क्षति पुगेको छ।

चार दिनमै बाढी-पहिरोको वितण्डा, विभिन्न जिल्लामा जनधनको क्षति

काठमाडौं । लगातारको वर्षापछि देशका विभिन्न जिल्लामा बाढी र पहिरोले जनजीवन प्रभावित बनेको छ। पछिल्ला चार दिनमा मात्रै बाढी, पहिरो तथा नदी कटानका कारण विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति भएको छ। सडक, पुल तथा बस्ती प्रभावित हुँदा यातायातसमेत अवरुद्ध भएको छ।

कालिगण्डकी नदीमा पानीको बहाव मनसुन अवधिकै उच्च विन्दुमा पुगेको छ। नदीमा आएको तीव्र बहावका कारण आसपासका क्षेत्रमा जोखिम बढेको छ। बागलुङमा पहिरोका कारण चार जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न स्थानमा दर्जनौँ सडकसमेत अवरुद्ध भएका छन्।

पाल्पामा बाढी तथा पहिरोका घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। पर्वतमा कालिगण्डकी नदीको बहावका कारण घर बगाएको जनाइएको छ। स्याङ्जामा बाढीले पुल बगाएको छ भने सेतीवेणी बजारसमेत डुबानमा परेको छ। नदीको बहाव बढेपछि आसपासका बस्तीमा त्रास बढेको छ।

मनाङको ताल गाउँमा समेत बाढी पसेको छ। लगातारको वर्षापछि नदी तथा खोलामा आएको बहाव बढ्दा स्थानीय बासिन्दा प्रभावित भएका छन्। लमजुङमा बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकमा पहिरो खसेपछि यातायात सञ्चालन प्रभावित भएको हो।

स्याङ्जामा सिद्धार्थ राजमार्गसमेत बन्द भएको छ। पहिरो तथा सडकमा आएको क्षतिका कारण राजमार्गमा यातायात आवागमन प्रभावित बनेको छ। कर्णाली प्रदेशका प्रमुख राजमार्गहरूमा समेत बाढी र पहिरोको प्रभाव परेको छ।

यसैगरी, नारायणगढ-मुग्लिन सडकखण्ड तथा पृथ्वी राजमार्ग पनि बाढीपहिरोका कारण प्रभावित भएका छन्। राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध हुने तथा यातायात सञ्चालनमा समस्या देखिएको छ।

नारायणी नदीमा पानीको सतहसमेत खतरा तह पार गरेको छ। नदीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। नवलपुरका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण घर तथा सडक क्षेत्रमा पानी पसेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ।

लगातारको वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढिरहेको र पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत कायम रहेकाले सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

सेती नदीमा बहाव बढेपछि रामघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

पोखरा। लगातारको वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि पोखराको रामघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

नदीको सतह बढ्दै गएपछि रामघाट आसपासका बस्ती डुबानको जोखिममा परेका हुन्। जोखिम बढेपछि सुरक्षाकर्मीले माइकिङ गर्दै स्थानीयलाई बस्ती छाडेर सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

स्थानीयलाई अत्यावश्यक सामान तथा महत्वपूर्ण कागजात साथमा लिएर सुरक्षित स्थानमा सर्न भनिएको छ। सुरक्षाकर्मीले नदीको बहाव बढेर रामघाट क्षेत्रमा डुबानको अवस्था सिर्जना भएकाले जोखिम नलिन आग्रह गरेका छन्।

प्रहरीका अनुसार गीता मन्दिर, क्रियापुत्री भवन र लक्ष्मीनारायण मन्दिर क्षेत्रमा भने तत्काल जोखिम नरहेको भन्दै आवश्यक परे ती स्थानमा जान सकिनेछ।

पछिल्ला केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ। सेती नदीको बहाव तीव्र बनेपछि नदी किनार आसपासका बासिन्दामा जोखिम बढेको छ।

प्रशासनले नदी किनारमा रहेका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन, अनावश्यक रूपमा नदीको किनारमा नजान र आपत्कालीन अवस्था आए तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

कालीगण्डकी बस्तीमा पस्दा २५ घर बगे, ८० घर जोखिममा

पर्वत। कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन्।

नेपाल प्रहरीका अनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो। फर्सेमा करिब ८० घर रहेका थिए। तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरसमेत जोखिममा रहेको प्रहरीले जनाएको छ।

घटनामा हालसम्म मानवीय क्षति भने भएको छैन। बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न सकेको छैन। घटनास्थल प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।

घटनाको थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ।

कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे

पर्वत । कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका-८ फर्सेमा २५ घर बगेका छन्।

नेपाल प्रहरीका अनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो। उक्त बस्तीमा करिब ८० घर रहेका थिए। तीमध्ये २५ घर नदीले बगाएको र बाँकी घरसमेत जोखिममा रहेको प्रहरीले जनाएको छ।

घटनामा हालसम्म मानवीय क्षति भने भएको छैन। बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थल पुग्न सकेको छैन। घटनास्थल प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ।

 

पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, तीन बेपत्ता

पाल्पा । पाल्पाका छुट्टाछुट्टै स्थानमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

माथागढी गाउँपालिका-२ रुप्सेमा गएराति पहिरोले घर पुरिँदा ७५ वर्षीय शेरबहादुर चिदी घाइते भएका थिए। उद्धार गरी उपचारका लागि स्वास्थ्यचौकी पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको वडाध्यक्ष वोमबहादुर ठाडामगरले जानकारी दिए।

पहिरोले घर पुरिँदा चिदीकी श्रीमती घरमा थिइन्। तर, घटना हुने समयमा उनी शौच गर्न गएका कारण सकुशल रहेको वडाध्यक्ष ठाडामगरले बताए।

यस्तै, अविरल वर्षाका कारण माथागढी गाउँपालिका–३ भैसकट्टामा दुईवटा घर पहिरोले पुरिएका छन्। पहिरोमा परी तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार बिहान करिब साढे ४ बजे लिलबहादुर घर्ती मगरको घरमाथिबाट पहिरो खसेको थियो। पहिरोले घर पुरिँदा ७५ वर्षीय लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएका छन्।

बेपत्ताको खोजी तथा उद्धारका लागि जनप्रतिनिधिसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको वडा अध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिए।

ठूलो पहिरो खसेकाले उद्धार तथा खोजी कार्यमा समय लाग्ने माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताएका छन्। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

विदेशमा रहेका नेपाली नागरिकलाई सहभागी गराउने विषयमा आयोगकाे अध्ययन 

काठमाडौं। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सरोकारवाला तथा जानकारसँग छलफल अघि बढाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विदेशमा रहेका नेपालीको संख्या, उनीहरूलाई मतदाता नामावलीमा समेट्ने प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचनमा नेपाली कूटनीतिक नियोगको भूमिकाबारे अध्ययन भइरहेको छ।

आयोगले विदेशमा रहेका नेपालीको यकिन विवरण संकलन, मतदान केन्द्रको व्यवस्था, मतदानपछि मतपत्र व्यवस्थापनलगायत प्राविधिक तथा प्रशासनिक पक्षबारे समेत छलफल गरिरहेको छ।

त्यस्तै, अध्ययनका क्रममा विभिन्न विकल्पबारे आयोगले छलफल अघि बढाएको छ। दूतावास तथा कन्सुलेटमा मतदान केन्द्र स्थापना गर्ने, हुलाकमार्फत मतदान गराउने, प्रतिनिधिमार्फत मतदानको व्यवस्था गर्ने तथा विद्युतीय वा मिश्रित मतदान प्रणाली अपनाउने विकल्पमाथि अध्ययन भइरहेको आयोगले जनाएको छ।

साथै, यस विषयमा आयोगले परराष्ट्र मन्त्रालयको सहजीकरणमा विभिन्न मुलुकस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुखसँग समेत छलफल गरेको छ।

विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिन आवश्यक पर्ने कानुनी तथा नीतिगत व्यवस्थाका विषयमा पनि आयोगले अध्ययन गरिरहेको छ।

आयोगले सम्भावित मतदान प्रणाली, त्यसका लागि आवश्यक पूर्वाधार तथा प्रशासनिक व्यवस्थाको अध्ययनपछि उपयुक्त विकल्पबारे थप प्रक्रिया अघि बढाउने जनाएको छ।

 

कविता : एक सुन्दरी वेश्याप्रति!

छ प्राप्तिको सुरा शरद् ! सुखोत्सवी छ मानव !
फली, फुकी, धनीधरा सुनौलिएर मुस्किइन्!
सुधा–उरीज सप्किंदी ! स्वभावमस्त ! मुस्कुरी !
ए सुन्दरी ? रसा सरी रुमाल फर्फराउँछयौ ?

रसाल भार रेशमी विचित्र चित्र रेखिए !
बन्यौ कि फूलले तिमी ? सुगन्ध ली हवा बहे !
रङ्गीन ज्यान झ्यालकी ! बजारबीचकी उषा !
उपास्दथें म अम्बिका ! झसङ्ग झैं यहाँ भएँ !

शरन्निशा तिमी झुकी, झिकी लजालु घूँघट,
स्मिति–प्रयोगिनी बनी, जिती सफेद चाँदनी,
सितारिंदी उदाउँछयौ ? बनाइ अङ्ग मख्मली ?
टुना गरेर चित्तमा चकोरका झिलीमिली ?

अनङ्गबाण झैं बस्यौ ? मिलिन्द डाक्न चञ्चली !
स्वरुप–शिल्पकारको टुना गवाउनाकन ?
म हूँ सितार स्नायुको, बजीरहेछु झन्किँदै !
समुद्र आज हो बडो छचल्किँदो जुनेलिँदै !

गुलाफतापले रचे विरिञ्चिले मनुष्य कि ?
मिलेर राग, वासना, फलिन्, फुलिन् वसुन्धरा !
छ मासुरङ्ग रेशमी लुगा लगाउने चरी !
अनङ्गबागमा बसी अलाप्दछे धनी सुरा!

जिती समाधि साधुको परी अपूर्व छिल्लिए !
छ मृत्तिका–प्रधान नै मनुष्यजीव, भूसुता !
म मासु–लाञ्छना गरी म पस्छु है चिसो गुफा !
म फूलको हूँ पारखी ! म पुज्छु सृष्टि, सुन्दरी!

मिहीन वाण हानिंदा, न घाउ लाग्नु हो शिला !
म मासुको ढुकढुकी हुँ! म वेदना, म शास हुँ !
म चर्म रे ! म दृष्टि रे म रश्मिको जवाफ हुँ !
म हारको विहार रे ! म पादको सिँगार हुँ !

म स्वप्निंदो छु उर्वशी, जिलाउँदो छु मेनका !
मलाई दिव्य कामिनीको तिर्सना अनन्त छ !
म मत्तमा ! म मस्तता ! मलाई प्यास सुन्दर !
म अड्छु ! फुल्छु, हेर्छु रे ! मनुष्य पुष्प फर्फर !

इशार, फुल्छ चित्त यो ! पुकार, चल्छ छाति यो !
म मासुको गुलाफको मिठास के गरी? भूलूँ
निसर्गको छ ऐन यो ! छ कृष्णलाई चैन यो !
समाधि–मग्न शम्भुको प्रकोपवादको खुशी !

म दीपको पतङ्गको अडान–निम्ति वार के !
यही त ब्रह्मपाश हो ! र बाँधिने मिठास हो !
यही चकोर प्यास हो ! हुनाको मात, आश हो !
म पौडिने तरङ्ग हो ! म मस्तिने सुवास हो !

न साँझ चान्द्र शैलमा प्रभापुरी अघि स्फुटी
गुलाफिइन् हिमालका समस्त टाकुरा जली !
यही अपूर्व कीर्तिले ! पखेरु खल्बल्याउँदै !
इशार स्वर्ग ! छैन त्यो भनेर भो म भन्दिन !

चिनेचिने सरी छ क्यै ! मलाई “आ” भनीकन
इशार्दछयौ ! म आउँला ! पिएर तृप्तिँ ल्यूअघि !
मलाई बोधिसत्वमा पु¥याउँ भन्छ पालुवा !
समस्त चारु चीजले मलाई आज डाक्दछन्!

तथापि अड्छु गौडले ! छ पर्श कालको यहाँ
जहाँ उडेर रङ्ग क्यै परेछ दाग द्धारमा !
तिमी गिज्याउँछयौ अरे ! म मूर्ख हैन, ए पख !
समाजलज्ज मान्नको छ देखिने अरु टक !

‘सुटुक्क झट्ट आ !’ भनी रुमाल फर्फराउँछयौ ?
कटाक्ष तीक्ष्ण लाउँछउौ ? सवाल मौन ल्याउँछयौ ?
यहीं छ द्धार, देख्छु है ! ए पर्ख ! क्यै निरख्छु है !
म देख्छु छूत मृत्युको ! त्यो चोइटो खसेछ है !

यहाँ त मृत्यु देखिनै हुँदैन रे तिमी जहाँ !
न हाँस ! कालको कथा कता कता सुनिन्छ है !
तिमी नजीक काल के ? म कालसाथ लड्दछु !
तिमी भिडाउ सुन्दरी ? म मृत्यु साथ भिड्दछु !

उषा थिइन्, जली मरिन्! सुवर्ण–साँझ अल्पिइन्
न आँशु, हुन्, न तारका, वितान झल्झलाउँछ !
न देखिने खुँडा लिने मलाई क्वै सताउँछ !
कुचाल मार्छ सुस्तरी ममा प्रहार गर्न ए !

प्रसूनसाथ रोइनौ ? निशाग्रटधोइनौदृष् ि?
र पुत्तली पखेरुका सुवर्ण–धूल छोइनौ ?
सुचारु साँझ जल्दथिन्, तिनी अगाडि रोइनौ ?
गलेर चाँदनी कणी, जली, ढली, थपोइनौ ?

म मार्छु मृत्यु सुन्दरी ! म क्रोधमा छु ! मार्न द्यौ !
विनाश चाल मार्छ रे ! म रोक्छु गर्व झर्न द्यौ !
म फूल झर्न दिन्न रे ! म रङ्ग उड्न दिन्न रे !
अहा ! यो मुस्कुरी पला अमोल हिँडन दिन्न रे !

तँ वैंश ! अड ! नमर् ! नमर् ! म गाउँला सदा ! सदा !
सुरा न सिद्धियोस् परी ! नशा भरी, र प्यास होस्!
तँ झ्यालको न नाश होस्! तँ दृष्टि नित्य दास हो !
झकाइ, यो अटूट होस् ! तिमी, सदा निमन्त्रणा !

ए चन्द्रमा ! कला नफेर्! तँ मेघ हे ! नजा नघेर्!
तँ पोज बस्! तँ ओठ जी ! ‘मुसुक्क !’ मर्त्यता नवर् !
तँ नूर हो स्थिरप्रभा ! यहाँ छ –कामिनीशिखा
धधग धधग ज्वलन्त जो, तँ चित्त ! नित्य धग्धगा !

म वीर हुन्छु प्रेयसी ! शिंगार शस्त्रले तिमी !
पठाउ काल युद्धमा !चढाउ अश्व, कल्पना !
अरण्यमा विशाल त्यो जहाँ गएर जानकी
दिएर रामवाहुमा प्रचण्ड शक्ति मुस्किइन्!

निचोर सृष्टिकी तिमी सजीव कामिनी बन्यौ !
तिमी, ममा छ विश्वको त फ्याक, फ्याक रे मुटु !
तिमी, म साथ चल्छ यो ! तिमी, म साथ फुल्छ यो !
हिमाल सम्झ पार्वती ! रसालकुञ्ज, राधिके !

अचम्म ! छौ बजारमा ? यहाँ कसोरि छौ तिमी ?
विशाल सृष्टि–वल्लरी प्रफल्ल एक पुष्प ए ?
म सोध्छु ए ! विचित्रकी तरङ्ग ! वृत्ति–बावली !
मभित्र बज्छ बाँसुरी, मिहीन औ पुरानिया !

न तौल अङ्गुली तिमी ! दशैं त मूल्य हो भनी !
हजार ज्यान अर्पिने विलासदास सामुमा !
अहो ! कसोरि सस्तियौ ? तिमी ? लसुन, प्याज झैं !
छ सानु रश्मि जो यहाँ, चढाउलाई हाँक खै ?

जमीनमा झरी बस्यो मिठासको महाफल ?
कहाँ छ टिप्नुको मजा ? र ज्यान जानुको रस ?
ए प्रेरणा विशालकी ! गंभीर–अब्धि कूलमा
बनेर रेणका म¥यौ ? जहाज–पाल बन्दिनौ ?

शहीद चारुको म ता ! प्रभातको विहङ्गम !
म स्वर्गपुष्प–चोर रे ! प्रताप आत्मदानको !
मलाई माग चाहियो ! मलाई आग चाहियो !
म भस्मबाट ब्यूँतिने विलासको चरा नहुँ !

म पूर्ण आफू दिन्छु हे ! जुहारलाई ज्यान् होस !
मुहारलाई प्राण होस् ! मिटान निम्ति शान होस्!
म दिन्न अंशदान ए ! म सिंगुलै चढाउँछु !
नमाग यत्ति मात्र रे ! म आउँदो छु ! धाउँछु !

तिमी त सृष्टिधूलिका, मिले म विश्व रच्दछु !
विशाल सूनसान नै बसाउनेछु सुन्दरी !
कुँदेर चन्द्रखण्ड यो अपूर्व शिल्पकारले
छ मर्नु ! यत्ति मोलमा बिक्यौ भने प्रभावकारी !

बुझें ! बनेर व्यङ्ग्यकी विशालता तिमी बस्यौ
बजारमा समाजको, गिज्याइ आजको मुख ?
जहाँ छ साँढे स्वार्थको सुचारु –पुष्पभक्षक !
जहाँ छ राज्य मासुको र आँशुको जलाशय !

छ कीट लुब्ध पुष्पमा ! विनाशसार प्यार छ !
ठगी, अपूर्व रुपको ! र नोटको बजार छ !
चुरो किनिन्छ मानवी ! गरीबमाथि मार छ !
जहाँ समाज नामको कुनर्कको मुहार छ !

समानता अजीव छन् जहाँ, र ढ्वाँग सार छ !
अहा ! बनेर व्यङ्ग्यकी प्रदीपिका जल्यौ तिमी !
तिमी मनुष्य–मातृका ! तिमी सुधा ! तिमी क्षुधा !
विशाल विश्वदीपिका तिमी ! तमोमयी तृषा ?

यो लात हो विरिञ्चीमा ! यो सृष्टिमाथि लाञ्छना !
निसर्गको प्रवञ्चना !
यो दागदीप आजको ?
विशाल व्यङ्ग्य, व्यङ्ग्य हो !
समाजको समाजको !

प्रकोप–मूर्छिता चिता ! कराल सुन्दरी तिमी !
निशुम्भ, शुम्भ डाक्तछयौ ? प्रचण्ड, चण्ड, मुण्ड के ?
लगाइ रुण्ड मुण्ड के ! छछम्! छछम्! धिधिक्! धिधिक्!
धपक्क बल्न इच्छियौ? जमीन डग्डगाउँदै ?

ए व्यङ्ग्य ! व्यङ्ग्य नै बनी गिगिल्ल, हाँस झ्यालमा !
म बुझ्न सक्छु कालिके !
सिंगारिई सुरा पियौ ?
ल नाच ए भयङ्करा !

सती, प्रलाञ्छिता, भृता, प्रकुण्ठिता, प्रवञ्चिता,
रुलाउँछयौ विभेदले, झिझिल्किएर शानमा !
शठात्म–रुण्डमुण्डको झुलाउ माल्य अङ्गले !
मताउ ती महापशु ! प्रताडन अगोचरा !

स्वरुपमा नदेखिई, स्वभाव के लुकाउँछयौ ?
रुमाल के फुकाउँछयौ ?
गिगिल्ल, फर्फराउँछयौ ?
मुसुक्क काम पुत्तली बनी तिमी छकाउँछयौ
दशाङ्गुली, गनी, गनी,
“तँ आ !” भनी
जनाउँछयौ ?
जनाउँछयौ वलि ?
छली ?
नमाग पेटले तिमी मलाई ! डर्छु हे खरी !
नडाक मासुले तिमी मलाई ! जल्छ है डढी !
म धीर, वीर मर्द रे ! सहन्न मान–हानि यो !
नजिस्क, जानिजानि यो !

नजिस्क है !
म डाटुँला, न रुप चिने सरि ?
ए फ्याउरी !
ए स्निग्ध घोडा घाँसकी
खरिद प्यार मासुकी !
ए गर्त ! यौनप्यासकी !
ए पुत्तली विनाशकी!
विकारकी ए दाउ ए !
सँभाल वृत्ति आउ हे
लुकी, छली, नखाउ औ चपाउ हे ।
समाजध्वंसकी तिमी मिठीमुहार माउ हे !
न मान्दछयौ भने हरे !
छ के सिवाय वेवशी ?
ए उर्वशी !

यो कत्रो रीस , कत्रो रीस ?
भन्दछयौ “त्यहीं बसिस्?
न आस्यमा, न आस्यमा,
परिस्, मरिस्?”
लुकाई गन्ध क्रोधको, ज्वलन्त क्वै चितासरि,
शिकारका खरानीले घसी मुहार सुन्दरी,
महाशिखा !
उडाउँछयौ प्रलोभिनी !
यो इविनिङ्पेरिस्!
अपूर्वकी कला बनी
दिई जगत्मा लात के ?
खसाल्न गर्तमा सिक्यौ
प्रलुब्ध पूँजीपातके ?

ए काम वारिवाहकी निवासिनी सुदामिनी !
गिराई वज्र ज्योतिको,
बिलाउँछयौ निरुत्तरा ?
छुँदै लिएर प्राण के ?
हराउँछयौ विनाडर ?
ए सृष्टि वारि–वर्षिणी !
ए नागिनी ! ए दंशिनी !
प्रहासिनी !
ए पाशिनी !
ए सृष्टि–माउ ! सृष्टिकी प्रभक्षिणी,
अभागिनी !

पुजूँ कि पाद ?–प्रभास्त्री !
हिलाऊँ प्राण–चामर ?
सजूँ कि यशून्सुन्दर ?
बजाऊँ भित्र घण्ट यो ?
बजाऊँ पाठ ! कण्ठ यो ?
रचूँ नयाँ जगत्म के ?
असी र चार प्यारका तयार पारुँ व्यञ्जन ?
अपार सद्य अज्मिए
प्रवेश गर्दछयौ ? भन !
त्यजेर छद्य चाल यो, के सत्यरुप धर्दछयौ ?
के कल्प, कल्प मातमा,
म साथमा दुगुर्दछयौ ?

ए पोथी शक्ति ! भूसुता !
लिएर जाल रेशमी सुवर्ण–मत्स्य–दिल कुनै,
अमोलको, खगोलको,
समुद्र–नीरबाट के शिकार्न शौक गर्दिनौ ?
ए पाल ! तालमा त्यहाँ !
हिमाल–सानुका मनि !
खिलाउँदी, पिलाउँदी र प्यारले जिलाउँदी !
जो सत्यमा छ, सम्झ हे !
स्वधम्र्मको सदा विधि !

म क्रुद्ध हुन्छ !
ठान्दछयौ जगत्भरी चले मिशीन ?
मिशीन मात्र चल्दछन्?

अजीव छन् सबै ?
सबै ?
नज्यूँदछन् कुनै दिल, यहाँ तल ?
बुझी, चल !
म हैन प्राणहीन हे !
म हुँ उत्ताल जिन्दगी !
म भावको हुँ आँकुरा !
म दिव्यजाल माकुरो !
म जान खोन्छु के ठगी !
चरी सँगी ?
नशा हुँ अग्निको म ता !
म बाफ चक्षुनीरको
प्रवाहमा यो श्वासको समीरको !

छुँदैन यी पुकारले ,
ए छोइयू !
धुने भएन आँशुले ?
ए धोइयू !
परेर प्ररणा तिमी
झिलिक्क पङ्ख फोइयू !
म सत्ते रोइरा’छु ए !
म आफु खोइरा’ छु ए !
ए सत्य रुपमा झर !
न फेरि लाञ्छना गर !
पचाउँछयौनि बूझ है !
तिमी मलाई ल्यौ सबै !
ए आत्मा ! आऊ ! स्वर्ग जाऊँ
अन्भ, अन्भ, साथमा !
कुनै अपर्श उच्चता लिएर सद्य लौ सजूँ
रङ्गीन अभ्र पातमा !
कूचो समाऊ रश्मिको ! बढार पूर्व आँगन !
म साथ शक्ति ! घोसल !
विचित्र अग्नि माँगन !

निहार बेलिफूलको टपक्क एक जीवन !
धु्रव–प्रदेशतारका अपारका निहारन !
जहाँ घुमेर साथमा अभेद्य ज्योति दम्पति,
सँगाल्छ विश्वसम्पति !
विचार अङ्क एकको उदेक ए
जहाँ दुई !

छ छाल, उछ्लिने
अनन्त–आँतको भरी
बोलाउँदै परस्परी !
महामरु प्रफुल्ल हुन्छ,
सर्छ सृष्टिवल्लरी !
तिमीले मन्त्र यो शिके,
“म अर्पिए सँधैभरि !”

म अश्रुसिन्धु हुन्छु ए !
डुबी डुबी तिमी मर !
जिई वर !

छ प्यारको हिमालयी महाघर !
गजूरमा छ त्यो मजा !
अनन्तसौख्यको ध्वजा !
जहाँ तुषार प्यारमा
उषा चढुन्शिंगारमा !
हारमा !

समाज आऊ लौ ! तरुँ !
बगाऊँ धार प्यारको !
किनारमा बसी रचूँ !
पुरीनयाँ अपारको !
घडाभरी छ, चन्द्रमा !
कलङ्क ध्वौ, बगी झर !
यहाँ पर !

के जिल्ल पर्दछयौ अरे ?
म उच्च–बुद्धि–पागल !
भए त कालिका, छली !
विनाशदीप सक्कली !
ए मानिसै भए पनि
मनुष्यको अरण्यमा मृतासमान एकली !
धराकलि !
मलाई चर्म देख्दछयौ ?
कि नोटका ठूला बिटा ?
न मर्म या निरख्दछयौ ?
सुतेछ हाय ! देवता !

सकारिनौ त प्यार के ?
ए ओर्ल ! छौ तयार के ?
भयो, भयो, न दृक्तर ?
क्षुधा, क्षुधा, रही मर !
तृषा, तृषा, सधैंभर !

डटेर झ्यालमा बस !
डढाऊ लौ बनारस
अधर्मिणी ! हिंडे पर !
सलाम ! भो क्षमा गर !
बिगार्दछयौ मुहार के ?
जगत् पखाल्न शक्दथ्यौ !
हिलो भर !
सडी मर !

मेरो निलो आकाश, उनको नीलो बुर्का

उही आकाशमुनि, कतै एउटी महिला छिन्। मलाई उनको नाम थाहा छैन। उनको हाँसो कस्तो सुनिन्छ, थाहा छैन।

उनले ऐनामा आफूलाई हेर्दा कहिल्यै आफ्नो भविष्य कस्तो होला भनेर सोचेकी थिइन् कि थिइनन्, थाहा छैन।

उनले कुन किताब पढ्न चाहन्थिन्, के बन्न चाहन्थिन्, कसलाई प्रेम गर्न चाहन्थिन् केही थाहा छैन।

तर यति थाहा छ, उनी मभन्दा फरक छैनन्।  

उनीसँग पनि सपना देख्ने आँखा छन्। केही बन्न चाहने मन छ। माया गर्न सक्ने मुटु छ। आफ्नो जीवन आफ्नै हातले लेख्न सक्ने क्षमता छ। फरक यति मात्र हो, मलाई मेरो भविष्य रोज्ने अधिकार दिइएको छ। उनीलाई आफ्नो भविष्यको कल्पना गर्नुअघि नै त्यसको सीमा तोकिएको छ।

सायद उनी पनि कहिल्यै विद्यार्थी बन्न चाहन्थिन्।  सायद डाक्टर, शिक्षिका, लेखिका बन्न चाहन्थिन्। सायद उनको सपना त्यति ठूलो पनि थिएन। सायद उनी घरबाट निस्केर स्वतन्त्र रूपमा हिँड्न चाहन्थिन्। सायद उनि आफ्नो अनुहार संसारलाई देखाउन चाहन्थिन्।
आफ्नो कमाइ आफ्नै हातले समात्न चाहन्थिन्।

कुनै पुरुषको अनुमति नलिई आफ्नो जीवनबारे एउटा निर्णय गर्न चाहन्थिन्।

तर बिस्तारै उनका अगाडि ढोकाहरू बन्द हुँदै गए।

उनको क्षमता घटेर होइन। उनका सपना साना भएर होइन। उनको बुद्धि कम भएर होइन।

उनी महिला भएर। कति भयावह छ, एउटी महिलाको जन्म नै उसको सम्भावनाको सजाय बन्नु।

म यहाँ आफ्नो भविष्यको चिन्ता गरिरहेकी हुन्छु। कुन विषय पढूँ? कहाँ जाऊँ? के बनूँ? मेरो जीवन कस्तो होला? र त्यही समयमा, उही आकाशमुनि, अर्की एउटी महिला आफ्नो भविष्य बनाउने अधिकारका लागि नै मौन युद्ध लडिरहेकी हुन सक्छिन्।

मलाई पढाइ कहिलेकाहीँ बोझ लाग्छ। उनलाई पढ्न पाउनु नै सपना हुन सक्छ। म आफ्नो लुगाबारे सोचिरहेकी हुन्छु। उनीलाई आफ्नो शरीरमाथिको अधिकार नै खोसिएको हुन सक्छ।

म कसलाई प्रेम गर्ने भनेर सोच्न सक्छु। उनीले कसलाई प्रेम गर्ने भन्ने निर्णयसमेत आफ्नो हातमा नरहेको हुन सक्छ।

हामी दुवैले एउटै चन्द्रमा देख्छौँ। तर एउटै चन्द्रमामुनि पनि स्वतन्त्रताको अर्थ यति फरक हुन सक्छ। कहिलेकाहीँ सोच्दछु, विशेषाधिकार भनेको सधैँ धेरै पाउनु मात्र रहेनछ।

कहिलेकाहीँ विशेषाधिकार भनेको तिमीबाट केही खोसिएको नहुनु रहेछ। पढ्न पाउनु।
बोल्न पाउनु। काम गर्न पाउनु। बाहिर निस्कन पाउनु। आफ्नो शरीरमाथि आफ्नो अधिकार हुनु। आफ्नो भविष्य आफैँ रोज्न पाउनु।

यी सबै कुरा हामीमध्ये धेरैका लागि यति सामान्य भइसकेका छन् कि हामीले तिनलाई स्वतन्त्रता भनेर सम्झनै छोडिसकेका छौँ।  सायद यही नै सबैभन्दा डरलाग्दो कुरा हो, हामीले स्वतन्त्रतालाई सामान्य जीवन सम्झन थालेका छौँ।

र कतै, अफगानिस्तानको कुनै घरभित्र, एउटी महिला उही मानव क्षमता बोकेर बसिरहेकी छिन्। सपना देख्ने क्षमता। प्रेम गर्ने क्षमता। संसार बदल्ने क्षमता। तर उनको संसारले उनलाई बारम्बार सम्झाइरहेको छ, तिमीले कति सपना देख्न पाउँछौ, त्यो पनि तिम्रो निर्णय होइन।

म उनलाई ‘बलियो महिला’ भनेर सम्बोधन गर्न चाहन्नँ।  किनकि कहिलेकाहीँ ‘बलियो’ भनिनु पनि पीडालाई सुन्दर शब्दले ढाकिदिनु जस्तो लाग्छ।

कुनै महिलाले बाँच्नका लागि असाधारण साहस देखाउनुपर्ने संसार नै गलत हो।

एउटी महिलाले कक्षाकोठामा प्रवेश गर्न साहसी हुनुपर्ने होइन। आफ्नो जीवन रोज्न अनुमति माग्नुपर्ने होइन। आफ्नो अस्तित्वको औचित्य प्रमाणित गर्नुपर्ने होइन। उनले स्वतन्त्र हुन पाउनुपर्ने हो।

र मलाई सबैभन्दा धेरै सताउने कुरा यही हो, उनी म हुन सक्थिन्। यदि जन्मस्थान फरक भएको भए।

यदि सीमा केही किलोमिटर पर सारिएको भए। यदि भाग्यले मेरो नामको ठाउँमा उनको नाम लेखेको भए।

सायद आज म नै त्यो झ्यालभित्र बसेर बाहिरको संसार हेर्दै हुन्थेँ। सायद मेरा सपना पनि त्यहीँ कतै थुनिएका हुन्थे। त्यसैले आज आकाशतिर हेर्दा म आफूलाई भाग्यमानी भन्न सक्दिनँ।

किनकि मैले उनीभन्दा बढी स्वतन्त्रता कमाएको होइन। म त्यस्तो ठाउँमा जन्मिएँ जहाँ मेरो स्वतन्त्रतालाई अझै पूर्ण रूपमा खोसिएको थिएन।

र, उनी उही आकाशमुनि जन्मिइन्। उही मानव शरीर लिएर। उही सपना बोकेर। तर फरक संसारमा। उही आकाश। उही महिला। उही सपना। तर एउटा स्वतन्त्र। अर्की कैद।

र,कहिलेकाहीँ मलाई लाग्छ, हामीबीचको सबैभन्दा ठूलो फरक क्षमता होइन। म यस्तो ठाउँमा जन्मिएँ, जहाँ मेरो सम्भावनालाई अझै सम्भावना बन्न दिइयो।

र उनी….?

उनी पनि उही मानव क्षमता लिएर जन्मिइन्। उही प्रेम गर्ने हृदय। उही सिर्जना गर्ने हात। उही भविष्यको आकांक्षा। उही आकाशमुनि सपना देख्ने अधिकार। तर उनको जीवनले उनलाई आफ्नै सम्भावनाको शोक मनाउन बाध्य बनायो।

सायद यही संसारको सबैभन्दा ठुलो विडम्बना हो। दुई स्त्री। उही आकाश। उही चन्द्रमा। उही सपना देख्ने क्षमता। तर एउटीले आफ्नो भविष्य लेख्न पाई। अर्कीले आफ्नो भविष्यभन्दा पहिले बाँच्ने अधिकारको हिसाब गर्नुपर्‍यो।

र त्यसैले आज जब म आफ्नो जीवनका साना साना असन्तोषहरूसँग संघर्ष गर्छु, मलाई कहिलेकाहीँ एउटा अपरिचित स्त्रीको सम्झना आउँछ।

उनी, जो म हुन सक्थिन्।

र त्यसपछि बुझ्छु, हामी साँच्चिकै कति विशेषाधिकारप्राप्त छौँ।  किनकि स्वतन्त्रता ठूलो कुरा होइन रहेछ। कहिलेकाहीँ स्वतन्त्रता भनेको आफ्नो जीवनबारे निर्णय गर्ने अधिकार मात्र रहेछ।

र संसारका केही स्त्रीहरू अझै त्यही अधिकारको प्रतीक्षामा छन्। उही आकाशमुनि। उही  पृथ्वीमा। उही मानव भएर। तर आफ्नो जीवनको मालिक हुन नपाई।

यूएन महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए । उनले महासभाको ८औँ दिन नेपालका तर्फबाट सम्बोधन गरेका थिए ।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा उनले नेपालको प्राथमिकता तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा धारणा राखेका थिए ।

महासभालाई सम्बोधन गर्दै उनले नेपालले जलवायु परिवर्तन, जलवायु न्याय, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई प्राथमिकतामा राखेको बताएका थिए । साथै, नेपालको विकास र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए ।

बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो

काठमाडौं। रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको एक महिना पूरा भएको छ। तर, बाढीमा बेपत्ता भएकाहरूको खोजी अझै टुंगिएको छैन। अनुमानित ५ हजार २८५ जना अझै बेपत्ता रहेको बताइएको छ।

बाढीपछि बेपत्ताको खोजी र शवको पहिचानमा सहज होस् भनेर परिवार र आफन्तले काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका भित्तामा फोटोसहितका सूचना टाँसेका थिए।

एक महिनापछि ती भित्ताको अवस्था भने फेरिएको छ। हराएकाहरू भेटिएका छैनन्, तर उनीहरूलाई खोज्दै टाँसिएका फोटो घाम र पानीले उप्किन, खुइलिन र च्यातिन थालेका छन्।

घटनालगत्तै झिनो आशा बोकेर भित्तामा टाँसिएका ती तस्बिरमध्ये केहीसँग जोडिएका परिवारले कुशको शव बनाएर बेपत्ताको अन्त्येष्टिसमेत गरिसकेका छन्। तर, केही तस्बिर भने अझै अस्पतालका भित्तामै छन्। ती तस्बिरमा रहेका अनुहार हराएकाको खबर पर्खिरहेका परिवारका लागि अझै एउटा अधुरो प्रश्नजस्तै छन्।

बाढीमा परेका १ हजार ४५३ जनाको शव भेटिएको छ। शव भेटिए पनि धेरैको अझै पहिचान हुन सकेको छैन। बेपत्ताको पहिचानका लागि हालसम्म २ हजार ६० जनाको डीएनए नमुना संकलन गरिएको छ।

बाढी गएको एक महिना बितिसक्दा खोजी र पहिचानको प्रक्रिया जारी छ। तर, अस्पतालका भित्तामा घामपानीले खुइलिँदै गरेका ती फोटोले भने बेपत्ताको पर्खाइ अझै सकिएको छैन भन्ने देखाइरहेका छन्।


 

पहिरोले सालझन्डी-सन्धिखर्क-ढोरपाटन सडक अवरुद्ध

अर्घाखाँची। अविरल वर्षासँगै पहिरो खसेपछि सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक अवरुद्ध भएको छ।

मालारानी गाउँपालिका–५ अन्तर्गत भण्डार–छरछरे क्षेत्रमा पहिरो खस्दा सडक पूर्णरूपमा बन्द भएको हो। पहिरोका कारण उक्त सडकखण्डमा यातायात आवागमन ठप्प भएको वडा अध्यक्ष तिलक मिश्रले जानकारी दिए।

सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिनुपर्ने अवस्था आएको छ। तत्कालका लागि उक्त मार्ग प्रयोग नगर्न र सम्भव भएसम्म वैकल्पिक सडक रोज्न आग्रह गरिएको छ।

वर्षा जारी रहेकाले आसपासका क्षेत्रमा थप पहिरोको जोखिमसमेत रहेको भन्दै यात्रु तथा चालकलाई सतर्कता अपनाउन भनिएको छ।

दोस्रो सातामा पनि ‘झिँगेदाउ २’को दबदबा

काठमाडौं । असोज २ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झिँगेदाउ २’ दोस्रो सातामा पनि दर्शक तान्न सफल भएको छ।

पहिलो सातामै राम्रो व्यापार गरेको सिनेमाले दोस्रो साताको शनिबार पनि हलमा दर्शकको उपस्थिति कायम राखेको निर्माण पक्षले जनाएको छ। वितरकका अनुसार शनिबार केही हलमा शो संख्या समेत थपिएको छ।

निर्माण टिमको दाबीअनुसार सिनेमाले पहिलो सातामा करिब डेढ करोड रुपैयाँको व्यापार गरेको छ। दोस्रो सातामा पनि दर्शकको चाप देखिएपछि निर्माण पक्ष उत्साहित बनेको छ।

सिनेमा हेरेर फर्किएका दर्शकले कथा, कलाकारको अभिनय, प्रस्तुति र गीतसंगीतको प्रशंसा गरेको निर्माण पक्षको भनाइ छ। पारिवारिक सम्बन्धभित्र देखिने झगडा, मनमुटाव र त्यसले निम्त्याउने परिस्थितिलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएकाले दर्शकले रुचाएको उनीहरूको दाबी छ।

सामाजिक सञ्जालमा आएका प्रतिक्रियामा पनि सिनेमाका केही दृश्यले दर्शकलाई हँसाएको र केही दृश्यले भावुक बनाएको उल्लेख छ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको सिनेमाको कथा जेठानी र देउरानीबीचको विवादबाट सुरु हुने पारिवारिक कलहमा केन्द्रित छ। सामान्य देखिने घरायसी विवाद कसरी ठूलो द्वन्द्वमा परिणत हुन्छ र त्यसले पारिवारिक सम्बन्धमा कस्तो असर पार्छ भन्ने विषयलाई सिनेमाले मनोरञ्जनसँग जोडेको छ।

सिनेमाले पारिवारिक द्वन्द्वसँगै आमाको भूमिका, माया र त्यागलाई पनि कथाको महत्वपूर्ण हिस्साका रूपमा प्रस्तुत गरेको छ। यही भावनात्मक पक्षले दर्शकलाई कथासँग जोडेको निर्माण पक्षको दाबी छ।

सिनेमामा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारले अभिनय गरेका छन्।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको सिनेमामा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा बनेको सिनेमामा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी छ। रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सहनिर्माता हुन्।

विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको सिनेमालाई मित्र डी गुरुङले सम्पादन गरेका छन्। अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ।

सुस्तामा नारायणी पस्यो

नवलपरासी । नारायणी नदीको बाढी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ बाट सशस्त्र प्रहरीले २९ जनाको उद्धार गरेको छ।

केही दिनदेखि लगातार परेको वर्षाका कारण नारायणीमा पानीको बहाव बढेपछि सुस्ताको थारु टोल डुबानमा परेको थियो। बाढी बस्तीमा पस्न थालेपछि आज बिहान पौने ९ बजे सशस्त्र प्रहरी बल, नेपाल बीओपी सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमान्डमा २१ जनाको टोली घटनास्थल पुगेको थियो। टोलीले डुबानमा फसेका २९ स्थानीयलाई सकुशल उद्धार गरेको हो।

उद्धारका क्रममा एक गाई र १३ वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरीले जनाएको छ।

उद्धार गरिएका स्थानीय र चौपायालाई सुस्ता गाउँपालिका–५ स्थित होल्डिङ सेन्टरमा राखिएको छ।

यसअघि नारायणीको बाढी थारु टोलमा पस्दा १६५ घर प्रभावित भएका थिए। त्यहाँका ७८ परिवारलाई होल्डिङ सेन्टरमा सारिएको थियो।

त्यसैगरी सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि थप ८५ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो।

नारायणीमा पानीको सतह अझै बढिरहेको भन्दै सुस्ताका अन्य बस्तीसमेत जोखिममा रहेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार सुस्तामा निर्माणाधीन तटबन्धको १३२ मिटर भाग अझै पूरा हुन बाँकी छ। यही कारण नदी कटानको जोखिम थप रहेको उनीहरूको भनाइ छ।

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको थप उद्धार तथा खोजी कार्य जारी रहेको छ।

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह पार [तस्वीरहरू]

बागलुङ। लगातारको भारी वर्षापछि कालीगण्डकी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। पर्वतको मोदीवेणीमा नदीको सतह चेतावनी तहभन्दा माथि पुगेपछि आसपासका बस्तीमा सतर्कता बढाइएको छ।

जिल्ला प्रशासन कार्यालय बागलुङ, पर्वत र म्याग्दीले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

मुस्ताङतर्फबाट लेदोसहितको बाढी कालीगण्डकीमा मिसिएपछि बहाव थप बढेको प्रहरीले जनाएको छ। नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

म्याग्दीको बेनी, बागलुङको नियरघाट, मालढुङ्गालगायत कालीगण्डकी आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन प्रशासनले भनेको छ।

शनिबार बिहानदेखि नदीको पानीको सतह अघिल्लो दिनको तुलनामा थप बढेको छ।

पर्वतको मोदीवेणीमा भने कालीगण्डकीले चेतावनी तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार त्यहाँ ७ मिटर चेतावनी तह रहेकामा पानीको सतह ७.७५ मिटर पुगेको छ।

हाल पानीको सतह केही घट्ने क्रममा रहे पनि जोखिम कायमै रहेकाले सतर्कता नछाड्न महाशाखाले आग्रह गरेको छ।

कालीगण्डकी बग्ने अन्य स्थानमा पानीको सतह चेतावनी तहभन्दा तलै छ। तर नदीको बहाव भने बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सावधानी अपनाउन भनिएको छ।