`

निर्वाचनबाट ‘भेंडा प्रतिनिधि’ छान्न बन्द गरौं : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले वर्तमान निर्वाचन प्रणालीको आलोचना गर्दै यसले वास्तविक जनप्रतिनिधि नभई ‘भेंडा प्रतिनिधि’ मात्र उत्पादन गरिरहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले प्रजातन्त्रको मूल मर्म ‘जनताको, जनताद्वारा, जनताका लागि’ शासन भए पनि हालको निर्वाचन प्रणालीले ‘भेंडाले, भेंडाद्वारा, भेंडाका लागि’ गरिने ‘भेंडातन्त्र’ लाई मात्र प्रोत्साहन गरेको बताएका छन् । ढकालले आउँदो चुनावबाट पनि सच्चा जनप्रतिनिधि छान्न नसकिने दाबी गर्दै निर्वाचन प्रणाली दोषपूर्ण रहेको बताएका छन् ।

भेंडाको नेता सधैं भेँडा नै हुने र मान्छे हुन नसक्ने भन्दै निर्वाचन प्रणालीले जनताको होइन, भेंडाको चुनाव गराएको उनको जिकिर छ । ढकालका अनुसार जनताले चलाएको देशमा विकास, शान्ति, सुशासन, न्याय र स्वतन्त्रता हुन्छ, तर भेंडाले चलाएको देशमा ध्वंस, अशान्ति, कुशासन, भ्रष्टाचार र अपराध मात्र हुन्छ ।

त्यसैले ‘भेंडातन्त्र’ को अन्त्य गरी जनताको शासन स्थापना गर्न तत्काल निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘साँचो जनप्रतिनिधि छान्न निर्वाचन प्रणाली बदल्नु पर्छ र भेंडाको शासन अन्त्य गरी जनताको शासन स्थापना गर्नुपर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

संविधान खारेज गरेर भए पनि जेनजीका माग सम्बोधन गर्नुपर्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रदेश सरकार विघटन गरेर संघीयतालाई बलियो बनाउनु पर्ने बताएका छन् ।काठमाडौंमा जारी केन्द्रीय केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै संघीयतालाई बलियो बनाएर जानुपर्ने बताएका हुन् ।

उनले भने, ‘मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, लुट एवं भ्रष्टाचार अन्त्य गर्न दलाल दल तन्त्रको सट्टा आम जनताको शासनका जरुरी छ। हामीले दुई वर्ष अघि तेस्रो जनआन्दोलनको घोषणा गरेको थियो । सोही तेस्रो जनआन्दोलनको जगमा अहिले जेनजीको जनविद्रोह गरेका हुन् ।’

मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, दलहरूको लुटकारी दलतन्त्रका कारण मुलुकको राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र नै धराशायी बन्दै गएको भएको दाबी गरे। संविधान र व्यवस्था गलत भएकै कारण नेपाली जनताको अवस्था खराब भएको बताए । उनले भने, ‘संविधान र व्यवस्था गलत थियो, यही व्यवस्था कायम राखेर जेनजीहरूको माग सम्बोधन हुँदैन । यो संविधान खारेज गरेर भए पनि जेनजीहरूको माग सम्बोधन गर्नुपर्छ ।’

जेनजी आन्दोलनको मौकामा रातोपुलमा लुटपाट गर्नेहरु पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको मौका छोपेर लुटपाट गर्नेहरूमाथि प्रहरीले अपरेसन थालेको छ । काठमाडौंको रातोपुलस्थित एक घरमा लुटपाट तथा चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ घर भई काठमाडौं रातोपुल बस्दै आएका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोक घर भएका १८ वर्षीय नयुन श्रेष्ठ र हेटौंडा–५ घर भई रातोपुल बस्ने १८ वर्षीय अगम प्रजा छन् । तीनै जनामाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार २४ गते भएको उक्त घटनामा संलग्नहरू शंकास्पद गतिविधि गरिरहेको सूचनाका आधारमा डेरा खानतलासी गर्दा उनीहरूले लुटेर लगेको सामान बरामद भएको हो । उनीहरूबाट चोरिएका कपडा, मूर्तिहरू, सुनचाँदीलगायतका दर्जनौं सामान बरामद गरिएको छ ।

दाउन्ने सडकमा दशैंभर ठूला गाडी चलाउन रोक

बुटवल । बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर ठूला गाडी (१२ चक्के र सोभन्दा माथि) चलाउन रोक लगाइने भएको छ ।

आज (शनिबार) दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि सो सडक खण्डमा दशैंको अवधिभर यात्रुबाहक सवारीहरूको चाप बढ्ने भएकाले ठूला भारवाहन सवारी साधनलाई रोक लगाउने निर्णय भएको हो । त्यसका लागि सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

ऊर्जा र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिकमन्त्री कुलमान घिसिङको सचिवालयले दिएको जानकारी अनुसार, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरू ढुवानी गर्ने सवारी साधनलाई भने निरन्तर आवागमन हुने व्यवस्था गर्ने निर्णय भएको छ । गत असारमा पनि यो सडक खण्डमा वर्षापछि भएको हिलोका कारण दुई दिनसम्म सवारी आवतजावतमा समस्या भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य, यस्तो छ अवस्था (तस्बिरहरू)

काठमाडौँ । भदौ २४ गते जेन जी आन्दोलनको दोश्रो दिन आन्दोलनकारीहरुले आगजनी गरेको रामशाह पथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य भएको छ ।

नेपाली इन्जिनियरिङ इतिहास र  आर्किटेक्टको दृष्टिकोणले सो  भवनलाई विश्वकै नमूनाको रुपमा लिइने गरिन्छ ।  विश्वको प्रख्यात आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना भवनको  रुपमा यस भवन रहेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनका ईन्जिनियरहरुले गरेको अध्ययनबाट मन्त्रालयको यो भवन प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालेको हो ।

‘पब्लिक स्पिच नेपाल’को विजेता जाजरकोटका दिपक

काठमाडौँ । जाजरकोटका १९ वर्षीय दिपक राउत ‘पब्लिक स्पिच नेपाल’ को दोस्रो संस्करणको विजेता बनेका छन् । आज यहाँ आयोजित प्रतियोगिताको अन्तिम चरणको कार्यक्रममा उनी विजयी हुँदै ट्रफीसहित रु ५० हजारबाट पुरस्कृत भएका हुन्।

बागेश्वरी असल शासन क्लब ९बास नेपाल०को आयोजनामा भएको प्रतियोगितामा मेलिशा कार्की द्वितीय भएकी हुन् भने दिपक परियार तृतीय भएका छन्। उनीहरू क्रमशः रु ३० हजार र रु २० हजारसहित पुरस्कृत भएका छन्।

यसैगरी, रु २० हजारसहित उमा कार्कीले ‘पब्लिक च्वाइस अवार्ड’ प्राप्त गरे । प्रोत्साहन पुरस्कार प्रार्थना अधिकारी र सान्त्वना पुरस्कार तोरिशा भण्डारीले प्राप्त गरेकी छिन् ।

प्रतियोगीहरूले भ्रष्टाचार नियन्त्रण, बौद्धिक पलायन, अपाङ्गता, समावेशिता र प्राकृति संरक्षणलगायत विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, ‘मोटिभेसनल स्पिकर’ डा ताराप्रसाद गिरी र वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेत रहेको बास नेपालका अध्यक्ष नमस्कार शाहले जानकारी दिएका छन् ।

सिंहदरबार सेना बाहेक अरूले जलाउन सक्दैन : बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबार नेपाली सेना बाहेक अरूले जलाउन नसक्ने दाबी गरेका छन् । शुक्रबार ख्वप कलेजमा संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै बिजुक्छेले यस्तो दाबी गरेका हुन्। जसको भिडिओ अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ।

‘सिंहदरबारमा सेना बाहेक कसैले त्यो (आगजनी) गर्नै सक्दैन,’ बिजुक्छेले भनेका छन्, ‘सिंहदरबारमा बाहिरबाट कसैले गर्नै सक्दैन, भित्रैबाट गरेको हो ।’ जेन–जी आन्दोलनमा भएको आगजनी र क्षतिमा अमेरिका र भारतको हात रहेको पनि उनले आरोप लगाएका छन् । तर, उनीहरूले नेपालीलाई नै प्रयोग गरेको बिजुक्छेको दाबी छ।

‘उनीहरूले नेपालीहरूलाई नै प्रयोग गर्दैछन् । त्यस कारण विदेशमा नेपाली सेनालाई पठाउनु हुन्न भन्ने कारण त्यही हो । उनीहरू विचरालाई थाहै हुँदैन, तालिम नै त्यसरी दिएको हुन्छ । हरेक सेना मर्नको लागि तयार हुन्छ,’ उनले भने।

अहिले जे भयो त्यो नेपाली युवाहरूले नजानेकै कारण यसो भएको पनि बिजुक्छेको दाबी छ । ‘युवाहरू हुन तिनीहरू, जे तिनीहरूलाई पढाएको छ, गलत छ । उनीहरूलाई थाहा हुँदैन,’ बिजुक्छेले भनेका छन्, ‘उनीहरूलाई त हामीले इमानदारीपूर्वक क्रान्ति गर्‍यौं सोचिरहेका होलान् । जबकि त्यो क्रान्ति होइन, उनीहरूलाई संविधान पढाएको हुँदैन।’

जेन–जी अगुवाले राष्ट्रपति रामचन्द्र पौडेल पनि यति बेला डराएर संविधान विपरीत काम गरेको बिजुक्छेले टिप्पणी गरेका छन् । ‘राष्ट्रपतिलाई त थुतेर ल्याऊ भन्छ! राष्ट्रपति थररर..! अब के गर्ने ? मनदेखि डरायो गर्दियो सही । स्थिति त्यो हो,’ उनले भने।

 

मधेस प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाको बैठक यही असोज ७ गते मङ्गलबार आह्वान गर्ने सर्वदलीय सहमति भएको छ ।

जनकपुरधाममा आज मधेस प्रदेश सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा सो सहमति भएको प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए ।

मधेस प्रदेशसभाका सबै राजनीतिक दलले सङ्घीयताको विषयमा एक रहनाका साथै सकारात्मक सन्देश प्रवाह गर्न बैठक आह्वान गर्ने निर्णय भएको सभामुख मण्डलले बताए ।

जेनजी प्रदर्शनका क्रममा मधेस प्रदेशसभामा आगजनी एवं तोडफोड तथा लुटपाट भएका कारण रु ४० करोड बढीको क्षति भएको र क्षतिग्रस्त संरचनाको तत्काल सामान्य मर्मत गरेर प्रदेशसभा बैठक आव्हान गर्ने सहमति भएको सचिवालयले जनाएको छ ।

बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत विभिन्न राजनीतिक दलका नेताहरू सहभागी थिए ।

चमन सीमाबाट अफगान शरणार्थीको फिर्ता पुनः सुरु

यस अघि भएको घातक बम विस्फोट पछि स्थगित भएको चमन सीमा हुँदै अफगान शरणार्थीहरूको फिर्ती शुक्रबार पुनः सुरु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । उक्त विष्पोटमा छ जनाको ज्यान गएको पाकिस्तानी पत्रिका डनले जनाइएको छ ।

सीमावर्ती सहरको ट्याक्सी स्टेसनमा शक्तिशाली विस्फोट भए पछि बिहीबार फिर्ता प्रक्रिया रोकिएको अधिकारीहरूले बताएका छन् । ठूलो सङ्ख्यामा अफगानहरू घर फर्कन पाकिस्तान–अफगान सीमामा भेला भएको अवस्थामा विष्फोट भए पछि स्वदेश फिर्ता स्थगित गरि उनीहरूको सुरक्षाका लागि उक्त स्थानबाट स्थानान्तरण गरिएको अधिकारीहरुले जनाएका छन् ।

सहायक आयुक्त चमन इम्तियाज बलूचले विस्फोटको पुष्टि गरेको छ भने प्रहरीले प्रारम्भिक अनुसन्धानले घटना स्थलका पसलहरू बाहिर विस्फोटक पदार्थहरू राखिएको जनाएको छ ।

सुरक्षा चिन्ता र कडा सीमा व्यवस्थापनको आवश्यकतालाई उद्धृत गर्दै पाकिस्तानले गत वर्ष कागजात विहीन अफगान नागरिकहरूलाई फिर्ता गर्ने अभियान सुरु गरेको थियो । सरकारी तथ्याङ्क अनुसार कानुनी कागजात बिना १० लाख भन्दा बढी अफगानीहरू पाकिस्तानमा बसिरहेका छन् ।

यो नीति लागु भएदेखि दशौँ हजारलाई चमन र तोरखाम सीमाबाट स्वदेश फिर्ता गरिएको डनले जनाएको छ । अधिकारीहरूले अभियानको उद्देश्य वैध भिसा र शरणार्थी कार्ड भएका व्यक्तिहरूको मात्र पाकिस्तान बसाइ सुनिश्चित गरी गैर कानुनी रुपमा बस्दै आएकाहरुलाई फिर्ता गर्नु रहेको जनाएका छन् ।

यद्यपि, मानव अधिकारबादीहरुले नीतिलाई अप्रत्यासित तथा कठोर भन्दै आर्थिक कठिनाइ र आधारभूत सेवाको अभावका कारण अफगानिस्तानहरुले अनिश्चित भविष्यको सामना गर्नु परेको चेतावनी दिएका छन् ।

जेनजी आन्दोलनका शहीद परिवार र घाइते भन्छन्–रगतमाथि खेलबाड नहोस्

काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरुले आफूहरुको रगतमाथि खेलबाड नहोस् भन्ने चाहेको बताएका छन् । उनीहरु आफैंले कसैलाई सत्तामा पुर्‍याउन भन्दा पनि समाजमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यको लागि बलिदान गरेको बताएका छन् ।

आज (शनिबार) संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा घाइते अछामका आदित्य रावलले आफूहरुले कसैलाई कुर्सीमा पुर्‍याउनको लागि आन्दोलन नगरेको स्पष्ट पारे । उनले सरकारले शहीद परिवार र घाइतेको जीविकोपार्जनबारे ठोस कार्ययोजना बनाउनु पर्ने माग समेत गरे। अहिले सरकारले दिएको सहयोग पर्याप्त नहुने समेत बताए ।

त्यस्तै घाइते गुल्मीका गोकर्ण विष्ट, हुम्लाका सुरेश ऐडीले आफूहरु त्रासको वातावरणमा रहेको बताएका छन् । उनले घाइतेको उपचारसँगै भयरहित वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । घाइते प्रकाश विष्टकी दिदी दुर्गा विष्टले आफ्ना भाइहरुको रगत खेर जाने अवस्था सिर्जना भए आफूहरु पनि सडकमा निस्किन बाध्य हुने चेतावनी समेत दिइन् ।

घाइते आफन्त सरस्वती रावलले घाइतेहरुले अस्पतालकै बेडमा आफ्नो रगत खेर जाने अवस्था आउँछ कि भन्ने चिन्तामा रहेको बताइन् । उनले देश र जनताको लागि बगेको रगत खेर जानु नहुने बताइन् । कार्यक्रममा पूर्णबहादुर भण्डारीले जेनजी पुस्ताले गरेको आन्दोलनमा आफूहरुको समर्थन रहेको बताउँदै बलिदान खेर जाने अवस्था आउन नदिन सबै लाग्नुपर्ने बताए ।

जेनजी अगुवा सुप्रिया नेपालीले राजनीतिक स्थिरताको लागि आफूहरुले रगत बगाएको, विज्ञहरुको मन्त्रिपरिषद्, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, शिक्षा, स्वास्थ्य निःशुल्क, २०४६ यता उच्च तहमा पुगेका राजनीतिज्ञ र प्रशासकहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग रहेको बताइन् । आफूहरुका माग पूरा नभए आन्दोलन जारी रहने चेतावनी समेत दिइन् ।

कार्यक्रममा जेनजी आन्दोलनका अगुवा प्रकाश रावलले २३ गतेको आन्दोलन देशको मुहार फेर्न भएको थियो भने । देशको बनाउन जन्मेका युवा भएको बताउँदै आफूहरुको शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले ताकीताकी गोली चलाएको बताए ।

सरकारले गोली हान्ने आदेश नदिएको भन्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईमा रावलले भने, ‘सरकारले गोली हान्ने आदेश दिएको होइन कसले गोली हानेको हो ? छानबिन गर्नुपर्छ ।’ उनले भ्रष्टाचार, कुशासनकोविरुद्ध शान्तिपूर्णरुपमा विरोध प्रदर्शनमा उत्रिएको बताए ।

रावलले प्रत्यक्ष कार्यकारी निर्वाचित शासकीय स्वरुप हुनुपर्ने बताउँदै त्यसको लागि संविधान संशोधन गरेरै भएपनि जनताबाट निर्वाचित प्रधानमन्त्रीको चुनाव हुनुपर्ने बताए । उनले सहिद र घाइतेको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताए । घाइते पत्रकार प्रेमराज राईका दाइ पत्रकार चन्द्र ओमबुलेले घाइते पत्रकारलाई पनि वेवास्ता गरिएकोप्रति रोष व्यक्त गरे ।

 

युरोपेली विमानस्थलहरू ’साइबर अवरोध’ बाट प्रभावित: सेवा प्रदायक

ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायतका प्रमुख युरोपेली विमानस्थलहरू शनिबार “साइबर–सम्बन्धित अवरोध“ बाट प्रभावित भएको जनाइएको छ । अवरोधले चेक–इन र ब्यागेज ड्रप प्रणालीलाई असर गर्दा सेवा प्रभावित भएको सेवा प्रदायक कोलिन्स एरोस्पेसलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

युरोपेली हवाई सेवा प्रदायकहरुले अवरोधको सामना गर्दा उडानमा ढिलाइ तथा उडान रद्द हुने चेतावनी दिए पछि ‘एयरस्पेस फर्म’ ले सम्बन्धित एयरपोर्टहरूका सफ्टवेयरमा साइबर–सम्बन्धित अवरोधको बारेमा सचेत भएको जनाएका छन् ।

अवरोध इलेक्ट्रोनिक ग्राहक चेक–इन र ब्यागेज ड्रपमा मात्र भएकाले म्यानुअल चेक–इन अपरेसनद्वारा सेवा प्रवाह गर्न सकिने कोलिन्स एरोस्पेसले बताएका छन् ।

शुक्रबार राति “साइबर आक्रमण“ को चपेटामा परेपछि ब्रसेल्स विमानस्थलबाट कम्तीमा १० वटा उडानहरू रद्द गरिएको तथा अन्य १७ वटा उडानहरू ढिलाइ भएको विमानस्थलले जनाएको छ ।

ब्रसेल्समा म्यानुअल चेक–इन र बोर्डिङ सेवा सुचारु गरिएको थियो, भने शनिबार उडान गर्ने यात्रुहरूलाई एयरपोर्टमा जानु अघि एयरलाइन्ससँग सम्पर्क गरी उडानको स्थिति जाँच गर्न सुचना जारी गरिएको थियो ।

लन्डनको हिथ्रो एयरपोर्टमा भने चेक–इन र बोर्डिङ प्रणाली पनि “प्राविधिक समस्या“ बाट प्रभावित भएकाले “उडानमा ढिलाई हुनु सक्ने जनाइएको छ ।

बर्लिन विमानस्थलको वेबसाइटमा अवरोधका कारण “युरोपमा चेक–इनमा यात्रुहरुलाई लामो समय प्रतीक्षा गर्नु परेको जनाएको छ ।

 

महिला र बालिकाका अधिकारमा साझा प्रतिबद्धताः २०३० सम्मको लक्ष्य

विगत ३० वर्षमा महिला र बालिकाको अधिकार र समानताका लागि अन्तर्राष्ट्रिय पहल अन्तर्गत, १०६ देशहरूले १९१ प्रतिबद्धता जनाएका छन् । यी प्रतिबद्धताहरू सन् २०३० सम्म महिलाहरूको जीवनमा सुधार ल्याउन र समानताको लक्ष्य पुरा गर्न बनाइएका हुन् ।

संयुक्त राष्ट्र महिलाले शुक्रबार ‘बीजिङं३० प्राथमिकता कार्यसूची ड्यासबोर्ड’ सार्वजनिक गरेको छ । यो डिजिटल प्लेटफर्मले विभिन्न देशहरूले लिङ्ग समानताका लागि गरेका स्वेच्छिक प्रतिबद्धताहरूलाई एक ठाउँमा देखाउने काम गर्छ ।

यसले विश्वभरिका प्रतिबद्धताहरू कहाँसम्म पुगेका छन् भन्ने कुराको पनि जानकारी दिन्छ र जवाफदेहिता कायम गर्न सहयोग गर्छ ।

संयुक्त राष्ट्र महासभाको ८०औं अधिवेशनको उच्चस्तरीय सत्रको अगाडि विश्वले लिङ्ग समानता शान्ति, न्याय र मानवअधिकारको आधारशिला हो फेरि एक पटक पुष्टि गरेको छ ।

संयुक्त राष्ट्र महिलाका कार्यकारी निर्देशक सिमा बहौसले भने,“महिला र बालिकाका अधिकारको पक्षमा देखाइएको यो सक्रिय प्रतिबद्धताले लिङ्ग समानता विश्वलाई एकतामा बाँध्ने एक बलियो शक्ति हो र बहुपक्षवाद यसलाई साकार पार्न कटिबद्ध रहेको देखाउँछ ।”

दर्ता गरिएका प्रतिबद्धतामध्ये लगभग एक तिहाइले महिला र बालिकामाथि हुने हिंसा रोक्न जोड दिएको छ । यसका साथै ४६ देशहरूले अन्तर्राष्ट्रिय सम्झौता र ‘दिगो विकास लक्ष्य’ लाई आफ्नो नीति र कार्यक्रमहरूमा समावेश गरेका छन् ।

अन्य प्रतिबद्धताहरूमा सामाजिक भेदभाव हटाउने, लिङ्ग समानताका लागि आवश्यक बजेट वृद्धि गर्ने, तथ्यांक सङ्कलन गर्ने, जवाफदेहिता कायम गर्ने र महिला अधिकारकर्मी तथा संघ–संगठनहरूसँग सहकार्य गर्ने विषयहरू समेटिएका छन् ।

सेप्टेम्बर २२ मा उच्चस्तरीय बैठक आयोजना गरिनेछ । यो बैठकले ३० वर्षअघि भएको चौथो विश्व महिला सम्मेलनको सम्झनामा विश्वका नेताहरूलाई भेला पारेर उनीहरूलाई आफ्नो प्रतिबद्धताहरू पुरा गर्न जोड दिनेछ ।

यस डिजिटल ड्यासबोर्डले देशहरूको प्रतिबद्धता अनुगमन गर्न, पारदर्शिता कायम गर्न र जवाफदेहिता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।

शीतलनिवास ‘सेलिब्रेट’ का लागि गएको होइन : सुदन गुरुङ

काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले राष्ट्रपति भवन शीतलनिवासमा आफू ‘सेलिब्रेट’ का लागि नगएको बताएका छन् । आज (शनिबार) उनले भिडिओ वक्तव्य जारी गर्दै सही के हो वा गलत के हो भन्ने थाहा पाउन केही समय पर्खिन समेत जेनजीहरूलाई आग्रह गरेका छन् ।

‘हामी आफैले पनि कुन गलत हो, कुन सही हो भन्ने पर्खन सक्नु पर्छ,’ गुरुङले भनेका छन्, ‘सबै जनाको दिमाखमा आइरहेको छ कि हिजो त्यहाँ म किन सेलिब्रेट गर्न गएँ । म त्यहाँ सेलिब्रेट गर्न गएको होइन । मलाई सेलिब्रेट गर्नु पनि छैन ।’

गुरुङ संविधान दिवसका दिन राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । त्यहाँ राजनीतिक दलका नेताहरू पनि सहभागी थिए । नेताहरुलाई त्यहाँ बोलाइएको र उनीहरूले ठाडो शीर नपारुन् भनेर आफू त्यहाँ गएको उनको भनाइ छ ।

‘नेताहरु सबै आउने भनेपछि यिनीहरू (नेताहरू) सिङ उचालेर जान्छ भनेर म त्यहाँ गएको हो,’ गुुरुङले भनेका छन्, ‘त्यहाँ म एउटा नेतासँग पनि बसिनँ । एउटै लेभलको कुर्सीमा बस्दा पनि बसिनँ । म उभिएरै बसें । पानीमा रुझेर बसेको हुँ ।’

राष्ट्रपति निवासको आफूले पानी समेत नखाएको बताएका छन् । ‘चिया खाम भनेको थियो, मैले चिया खाँदिनँ भने,’ गुरुङले भनेका छन्, ‘पानी खादिनँ भनेको हो, भाइ बहिनीहरूको रगत बगेको छ, मलाई यिनीहरुको केही खानु पनि छैन । यिनीहरू (नेताहरू) शीर उठाएर नहिँडोस् भनेर म त्यहाँ गएको हो ।’

आफूले नेपाली कांग्रेसका नेता गगन थापासँग भने कुरा गरेको र यसरी नचल्ने बताएको गुरुङको भनाइ छ । यस्तै राष्ट्रपति र संविधान नै नरहँदा देश नै अप्ठ्यारोमा पर्ने भन्दै आफूले त्यो विषयमा अडान नलिएको समेत उनले बताएका छन् । आफूमा कुनै लोभ नभएको र आफूले व्यक्तिगतरुपमा केही पनि नमागेको गुरुङले दाबी गरेका छन्।

 

मर्मत र रङरोगन का साथ सिगारीदै : सिंहदरबार

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगन गरिएको छ । जेनजी प्रदर्शनपछि सुनसान र खण्डहर जस्तै बनेको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारमा मर्मत र रङरोगनले चहलपहल बढेको छ ।

आगोले जलेका संरचना र धुवाँले कालो बनेका मन्त्रालयका भित्तामा पानीले पखाली रङरोगन सुरु गरिएको छ । साथै सिंहदरबारभित्र जलेर झ्याल, ढोका र फर्निचर मर्मत पनि सँगसँगै चलेको छ । आगजनीमा परी क्षतिग्रस्त करिब एक हजार सवारीसाधन पन्छ्याउने र व्यवस्थापन पनि सोही गतिमा चलेको देखिन्छ ।

मर्मत र रङरोगनका लागि केही श्रमिक खट कस्दै गरेका छन्भने कोही रङ लगाउन व्यस्त छन् । तोडफोड भएका झ्यालढोका मर्मतसम्भार गर्ने, टेबुल, कुर्सी, सोफालगायतका फर्निचर जलेर खरानी भएकाले ती फोहर हटाउन श्रमिकहरु तल्लीन भएको दखिन्छ ।

जेनजी प्रदर्शनपछि उत्पन्न विषम परिस्थितिमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले सिंहदरबारको मर्मतसम्भार र पुनःनिर्माणलाई प्राथमिकता दिँदै काम अगाडि बढाउने निर्णयबमोजिम सो कार्य अघि बढाइएको हो ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पदभार ग्रहणका क्रममा जेनजी प्रदर्शनका क्रममा सिंहदरबारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाई भित्तामा रङरोगन गरिने बताएका थिए । “सिंहदरबारका कालो लागेको भित्ता रङरोगन गर्छौं, हामी विनाशबाट चाँडै उठ्यौँ है भनेर सन्देश दिन जरुरी छ”, उनले भने, “तत्कालै मर्मतसम्भार र पुनःनिर्माण गरी केही महिनाभित्रै उठ्याँै भन्ने सन्देश दिन्छौँ ।”

प्रदर्शनका क्रममा कार्यालय क्षतिग्रस्त भए पनि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका कर्मचारी गत भदौ २८ गते बिदाका दिन पनि कार्यालय आई सरसफाइ र मर्मतमा जुटेका थिए । हाल पूर्ण रुपमा क्षतिग्रस्त भएका मन्त्रालयका कर्मचारी ‘रोस्टर’ बनाएर हाजिरी गर्ने र सरसफाइमा जुट्दै आएका छन् ।

जेनजीको प्रदर्शनका क्रममा गत भदौ २४ सिंहदरबार परिसरमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, शिक्षा तथा विज्ञान प्रविधि, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास र अर्थ मन्त्रालयमा आगजनीबाट क्षति पुगेको थियो । प्रदर्शनकारीले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका संसदीय दलका कार्यालयमा आगजनी र तोडफोड गरेका थिए ।

आगजनीबाट क्षतिग्रस्त भएका मन्त्रालयमा आज बिदाका दिनमा पनि मर्मतसम्भार र रङरोगन भइरहेको देखिन्छ । रङरोगनमा खटिएका श्रमिकहरु बाँसको खट बनाई, डोरीमा झुन्डिएर धमाधम काम गरिरहेका छन् । प्रदर्शनकारीले ध्वस्त तुल्याएका गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हकमा भने ठूलो क्षति पुगेकाले सामान्य मर्मत र रङरोगनले नपुग्ने भएपछि पुनःनिर्माण गरिने भएको छ ।

मन्त्रालय क्षेत्रका पार्किङस्थलमा जलेर नष्ट भएका चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधन जलेर असरल्ल बनेका सवारीको व्यवस्थापन पनि चलिरहेको छ ।

जेनजी प्रदर्शनका क्रममा सिंहदरबारभित्र रहेका रक्षा, कानुन तथा संसदीय मामिला, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास, परराष्ट्र, श्रम तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलगायतका मन्त्रालयमा सामान्य क्षति पुगेको छ । साथै नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय योजना आयोग अराजक समूहबाट बचेका छन् ।

दुई अर्ब २० करोडको बजेट : धरान उपमहानगर

धरान (सुनसरी) । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२/८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरे।

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट रु ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट रु दुई करोड र गत वर्षको मौज्दातबाट रु सात करोड प्राप्त हुने अनुमान गरिएको छ ।

सहरी योजना तथा भौतिक पूर्वाधार विकासततर्फ रु ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदतर्फ रु ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ रु छ करोड ९९ लाख ९५ हजार, सामाजिक विकासतर्फ रु चार करोड ८६ लाख ४५ हजार विनियोजन गरिएको छ ।

साथै आर्थिक विकासतर्फ रु एक करोड २९ लाख, वन वातवरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ रु दुई करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ रु २० लाख, सार्वजानिक जग्गा संरक्षणतर्फ रु १५ लाख, राजस्व परिचालनतर्फ रु ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ रु पाँच करोड पाँच लाख विनियोजन गरिएको छ । चालु आवका लागि धरानका २० वटा वडाका लागि रु २१ करोड विनियोजन गरेको छ ।

त्यसैगरी नगर कार्यपालिकातर्फ निःसर्त विनियोजन र एक अर्ब ३१ करोड ९२ लाख ८२ हजार, ससर्त अनुदानबाट रु ६० करोड ५६ लाख ७७ हजार, समपूरक बजेटबाट रु एक करोड ८२ लाख र विशेष अनुदानबाट रु पाँच करोड ४३ लाख विनियोजन गरिएको छ । नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख बेघाले बताए ।

ट्रम्पद्वारा सञ्चारमाध्यमको आलोचना, किमेलको कार्यक्रम निलम्बनपछि बहस चर्कियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारमाध्यमहरूले आफूमाथि अत्यधिक नकारात्मक समाचार सम्प्रेषण गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सञ्चारमाध्यमहरूले राम्रो समाचारलाई समेत नकारात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको र यस्तो कार्य व्यक्तिगत दृष्टिले ‘अवैध’ जस्तो लाग्ने बताए ।

यस वर्ष ट्रम्पले थुप्रै प्रमुख समाचार संस्थाहरूलाई मानहानीसम्बन्धी मुद्दा दायर गरिसकेको छ र उनको दाबी अनुसार सञ्चारमाध्यमहरूले उनी र आफ्नो प्रशासनको बारेमा झन्डै ९७ प्रतिशत नकारात्मक समाचारहरू प्रसारण गरिरहेका छन् ।

यो विवाद चर्चित हास्य कलाकार जिमी किमेलको टेलिभिजन कार्यक्रम निलम्बन गरिएको खबर सार्वजनिक भएपछि थप चर्कियो । किमेलले दक्षिणपन्थी राजनीतिक कार्यकर्ता चार्ली किर्कमाथि दिएको टिप्पणीलाई लिएर अमेरिकी सङ्घीय सञ्चार आयोग ९एफसीसी० का आयुक्त ब्रेन्डन कारले कडा प्रतिक्रिया जनाउँदै प्रसारण गर्ने च्यानलहरूलाई जरिवाना वा लाइसेन्स खारेज गर्ने चेतावनी दिएका थिए । केही घन्टाभित्रै एबीसी टेलिभिजनले किमेलको कार्यक्रम अनिश्चितकालका लागि निलम्बन गर्ने निर्णय गर्यो । यस विषयमा ट्रम्पले कारको समर्थन गर्दै उनलाई ‘साहसी र राष्ट्रप्रेमी’ व्यक्तित्वको रूपमा प्रशंसा गरेको छ ।

तर, ट्रम्पका नजिकका सहयोगी टेक्सासका रिपब्लिकन सिनेटर टेड क्रूजले यसप्रकारको सरकारी हस्तक्षेपलाई अभिव्यक्ति स्वतन्त्रताका लागि खतरा भएको टिप्पणी गरे उनले यो स्थितिलाई ‘माफिया शैलीको धम्की’ भन्दै आलोचना गर्दै सरकारले सञ्चारमाध्यममाथि नियन्त्रण गर्न खोज्नु गलत भएको बताए ।

अर्कोतर्फ, ट्रम्पले न्यूयोर्क टाइम्सविरुद्ध दायर गरेको १५ अर्ब डलर बराबरको मानहानी मुद्दा सङ्घीय अदालतले कानुनी आधार नपुगेको भन्दै खारेज गरेको छ । अदालतले उक्त मुद्दालाई ‘राजनीतिक प्रेरित’ र ‘कानुनी रूपमा कमजोर’ भएको ठहर गर्दै ट्रम्पको उजुरीलाई अस्वीकृत ग¥यो ।

यस घटनाक्रमले प्रेस स्वतन्त्रता र सरकारको नियमनबीचको संवेदनशील सन्तुलनमा पुनः गम्भीर बहस सुरु गराएको छ । यहाँ एकातिर राष्ट्रपति ट्रम्प सञ्चारमाध्यमको आलोचना गर्दै आँफूलाई असमान व्यवहार भोग्दै छु भन्ने बताउँछन् भने अर्कोतिर अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नुपर्ने आवश्यकता मा पनि जोड दिइएका छन् ।

यो विषय अमेरिकामा र विश्वव्यापी रूपमा सञ्चार स्वतन्त्रता र राजनीतिक दबाबका बीचको द्वन्द्वलाई झल्काउने खालको बनेको छ ।

 

यात्रुबाहक सवारीलाई नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्न दिइने, यस्ता बैठकका निर्णयहरु

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाका विषयमा शनिबार सरोकारवालासँग छलफल गरेका छन् ।

मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक,सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीसँग छलफल गरेका हुन् ।

मन्त्री घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुङ्गा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । ‘काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारी साधनहरूमध्ये यात्रुवाहक सार्वजनिक सवारी साधनहरू सो सुरुङमार्ग (नागढुङ्गा–सिस्नेरी) बाट बाहिर जाने,’ मन्त्रालयको निर्णयमा भनिएको छ, ‘दशैंपछि माथि उल्लिखित सवारी साधनहरू प्रवेश गर्न गराउन व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने ।’

मन्त्री घिसिङले २४ सै घण्टा यात्रुलाई सडक अवस्थाका र गुनासो सुन्न एवम् त्यसको व्यवस्थापनका बारेमा जानकारी दिने, पहिरोलगायतले सडक अवरोध भएमा तुरुन्तै पुनस्र्थापनाको आवश्यक व्यवस्था गर्न निर्देशन दिए ।

हेर्नुस् बैठकका निर्णयहरु :

सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर नहुँदा क्षतिः डा कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले तत्कालीन सरकार सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर नहुँदा जेनजी प्रदर्शनमा ठूलो क्षति भएको बताएका छन् ।

आज विराटनगरस्थित शेखर कोइराला निवासमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले हालसम्म नेपाली कांग्रेसको नेतृत्व हस्तान्तरणको विषयमा कुनै छलफल नभएको बताए। नेता कोइरालाले जेनजी प्रदर्शनका क्रममा भएका क्षतिबारे छानबिन हुनुपर्नेमा जोड दिए। उनले राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन समयमा चालेको कदम सही भएको उल्लेख गर्दै संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था नरहेको उल्लेख गरे ।

उनले लोकतन्त्र र प्रजातन्त्रको धरोहर विराटनगरस्थित कोइराला निवास जलेकामा दुःख व्यक्त गरे । भौतिक संरचना जले पनि नेपाली कांग्रेसको इतिहास नजलेको उनको जिकिर छ ।

कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा

काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज रु नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ ।

“चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन रकमलाई कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरी विगत सात वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउन मन्त्रिस्तरीय निर्णय भएको छ”, अर्थमन्त्रालयका सहसचिव एवम् प्रवक्ता टङ्कप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

इजरायलको धम्कीबाट विश्व समुदाय डराउनु हुँदैन:महासचिव गुटेरेस

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको धम्कीबाट विश्व समुदायलाई नआत्तिन आग्रह गरेका छन् ।

संयुक्त राष्ट्र मुख्यालयमा आयोजित एक अन्तर्वार्तामा महासचिव गुटेरेसले पछिल्लो समय इजरायलले कब्जा गरिरहेको पश्चिमी किनारको विषयमा गम्भीर चिन्ता व्यक्त गरे । उनका अनुसार, यो क्षेत्रको विस्तार अवैध हो र त्यसविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा स्पष्ट आवाज उठ्नुपर्छ ।

उनले भने,“हामीले इजरायलको सम्भावित प्रतिशोधको डर मानेर चुप लाग्नु हुँदैन । यस्ता कार्यहरू रोक्न अन्तर्राष्ट्रिय दबाब आवश्यक छ ।”

गुटेरेसले गाजा क्षेत्रमा भइरहेको मानवीय सङ्कटबारे समेत गहिरो चिन्ता व्यक्त गरे । उनका अनुसार, गाजामा हाल देखिएको मृत्यु, भोकमरी, औषधिको अभाव र आश्रयको अभाव अत्यन्तै दुःखद र असह्य छ ।
“यो मेरो महासचिवको कार्यकालमा मात्र होइन, जीवनभर देखिएको सबैभन्दा भयावह मानवीय अवस्था हो,” उनले भने।

उक्त सन्दर्भमा, फ्रान्सको पहलमा १० देशले संयुक्त राष्ट्रको आगामी महासभामा प्यालेस्टाइनी राज्यलाई मान्यता दिने तयारी गरिरहँदा इजरायलले त्यसको कडा विरोध जनाउँदै पश्चिमी किनारमा औपचारिक रुपमा कब्जा जमाउने चेतावनी दिएको छ । यसबारेमा गुटेरेसले भने,“हामी यस्ता चेतावनीबाट नडराई अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको पक्षमा उभिनुपर्छ ।”

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान प्रयोजनका लागि ९ अर्ब ८० करोड रूपैयाँ निकासा

काठमाडौँ ।  सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज रु नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ ।

“चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन रकमलाई कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरी विगत सात वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउन मन्त्रिस्तरीय निर्णय भएको छ”, अर्थमन्त्रालयका सहसचिव एवम् प्रवक्ता टङ्कप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल राष्ट्र बैङ्कले लामो समयदेखि बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान सरकारबाट पाउन सकेको थिएन ।

यो रकम निकासा भएसँगै कर्जा विस्तारका लागि थप सहज हुने अनुमान गरिएको छ ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिअनुसार कृषि तथा पशुपन्छी कर्जा रु पाँच करोडसम्म, महिला उद्यमशील कर्जा तथा स्टार्टअप उद्यम कर्जा रु २५ लाखसम्म उपलब्ध गराउन सक्ने व्यवस्था छ ।

त्यसैगरी वैदेशिक रोजगारबाट फर्केका युवा तथा शिक्षित युवा परियोजनाका लागि रु २० लाख बराबर सहुलियतपूर्ण कर्जा उपलब्ध गराइँदै आएको छ ।

प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जाका रूपमा रु पाँच लाख बराबर कर्जा उपलब्ध गराउन सकिने व्यवस्था छ ।

बैङ्क तथा वित्तीय संस्थाहरुले उपलब्ध गराउने यस्तो सहुलियतपूर्ण कर्जाको ब्याज भुक्तानीका लागि सरकारले अनुदान उपलब्ध गराउँदै आएको छ ।

अर्थमन्त्री खनालले गरे ध्वस्त सीजी डिजिटल पार्क अवलोकन

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त सतुंगलस्थित चौधरी ग्रुपको सीजी डिजिटल पार्क अवलोकन गरेका छन् ।

आन्दोलनकारीले गरेको आगजनीका कारण खरानीमा परिणत भएको यस संरचना चौधरी ग्रुपको प्रमुख औद्योगिक एकाइमध्ये एक हो । मन्त्री खनालले शनिबार क्षतिग्रस्त संरचना अवलोकन गर्दै आन्दोलनका कारण अर्बौँ रुपैयाँ बराबरको क्षति व्यहोरेको निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘हालैको विनाशबाट माथि उठ्दै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता हो,’ उनले भने, ‘निजी क्षेत्रको सक्रियता र लगानी विना यो सम्भव छैन । सरकार निजी क्षेत्रलाई सहयोग र सहजीकरण गर्न तयार छ ।’

जेन–जेड आन्दोलनका क्रममा चौधरी ग्रुपका व्यावसायिक प्रतिष्ठान, उद्योग र निजी निवासहरूमा व्यापक तोडफोड तथा आगजनी भएको थियो । सतुंगलस्थित यो पार्कबाट सीजी ब्रान्डका विद्युतीय सामग्री एसेम्बल गरी बजारमा पठाइने गरिएको थियो । साथै, एलजीसहितका अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय उपकरणहरू पनि यही पार्कमा एसेम्बल हुने गरेका थिए ।

आगजनीका कारण सम्पूर्ण संरचना ध्वस्त भएता पनि सीजी र एलजीका विद्युतीय सामग्री आपूर्ति शृंखलामा अवरुद्ध हुन नदिने चौधरी ग्रुपले जनाएको छ । मन्त्री खनालको भ्रमणलाई निजी क्षेत्रको मनोबल उच्च राख्ने प्रयासका रूपमा लिइएको छ ।

‘फिच’ को ऋण रेटिङ वृद्धि इटालीको आर्थिक नीति सफलताको प्रमाण : प्रधानमन्त्री मेलोनी

इटाली । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अन्तर्राष्ट्रिय ऋण मूल्याङ्कन संस्था ‘फिच’ ले देशको ऋण रेटिङ उक्लाएको घटनालाई आफ्नो सरकारको आर्थिक अनुशासन र कडाइयुक्त नीति सफल भएको सङ्केतका रूपमा स्वागत गरेकी छिन् ।

‘फिच’ रेटिङ्स एउटा अन्तर्राष्ट्रिय संस्था हो जसले देश, कम्पनी र वित्तीय निकायहरूको आर्थिक स्थिरता र ऋण तिर्ने क्षमताको मूल्याङ्कन गर्छ । यसले दिने मूल्याङ्कनलाई क्रेडिट रेटिङ भनिन्छ।

विश्वमा फिच रेटिङ्सलाई मूडीज र स्ट्यान्डर्ड एन्ड पूअर्ससँगै सबैभन्दा ठूलो र प्रतिष्ठित क्रेडिट रेटिङ एजेन्सीमध्ये एक मानिन्छ ।
फिचले इटालीको ऋण रेटिङलाई ‘बिबीबी’ बाट ‘बिबीबी प्लस’ मा उकास्दै आगामी दिनका लागि स्थिर रहेको मूल्याङ्कन गरेको छ । संस्थाले यस निर्णयमा इटालीको आर्थिक मार्गप्रतिको विश्वसनीयता र सरकारको प्रतिबद्धतालाई महत्त्वपूर्ण रूपमा लिएको जनाएको छ ।
प्रधानमन्त्री मेलोनीले भनीन्,“फिचबाट प्राप्त यो मान्यता हाम्रो सरकारले अघि सारेको आर्थिक नीति सही दिशामा रहेको पुष्टि हो ।”
यसअघि, इटालीले आफ्नो सार्वजनिक खर्च घाटा ७.२ प्रतिशतबाट घटाएर ३.४ प्रतिशतमा ल्याउन सफल भएको तथ्याङ्कले पनि आर्थिक अनुशासनमा प्रगति देखाएको छ ।
फिचले राजनीतिक स्थिरता र आर्थिक नीतिहरूमा विश्वसनीयता पनि यो सुधारको मुख्य कारण भएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री मेलोनीले थप भनीन्, “राजनीतिक स्थिरता, विश्वासिलो नीति र रोजगारी सिर्जना गर्ने क्षेत्रहरूलाई समर्थन गर्दा राम्रो नतिजा आउनु स्वाभाविक हो । यी उपलब्धिहरू हामीले मात्र होइन, अन्तर्राष्ट्रिय बजारले पनि विश्वास गरेको छ ।”
इटालीका अर्थमन्त्री जियानकार्लो जिओर्जेटीले पनि ‘हामीले देशलाई सही बाटोमा डो¥याउन सफल भएका छौं’ भनी आफूहरूको प्रतिबद्धता दोहोर्याएका छन्।

तर, आर्थिक वृद्धिदर सन् २०२३ र २०२४ मा अपेक्षाअनुसार पुगेको छैन र ०.७ प्रतिशतमा सीमित रहेको तथ्याङ्क छ ।
त्यसैगरी, इटालीको ऋण भार उच्च छ, जसले दीर्घकालीन आर्थिक विकासमा चुनौतीहरू कायम राखेको छ । यद्यपि, सरकारले सुधारका लागि निरन्तर प्रयास गरिरहेको छ ।

‘एमपक्स’ ले एक लाख ९० हजार नाघ्यो, एक हजार ९९९ जनाको मृत्यु

सन् २०२४ को सुरुदेखि अफ्रिकामा ‘एमपक्स’ नामक रोगका कुल एक लाख ९० हजारभन्दा बढी घटना रिपोर्ट भएका छन् भने मृत्यु सङ्ख्या लगभग दुई हजार पुगेको छ ।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका एमपक्स सम्बन्धी सहायक प्रबन्धक याप बौमले अनलाइन पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार, जनवरी २०२४ देखि २९ वटा अफ्रिकी देशहरूमा जम्मा एक लाख ९१ हजार ५ सय ५९ म्पोक्सका घटना रिपोर्ट भएका छन् । यसमा ५३ हजार १३ पुष्ट घटना र एक हजार ९९९ मृत्यु भएका छन् ।

बौमले रोकथाम प्रयासहरूले सफलता देखाइरहेका र पछिल्ला हप्ताहरूमा शङ्कास्पद दुवै घटनाहरू घट्दै गएको बताएका छन् । मे महिनामा उच्च स्तरमा पुगेका साप्ताहिक पुष्ट घटनाहरू ७० प्रतिशतले घटेर एक हजार ६२० बाट ४९१ मा झरेका छन् ।
त्यसैगरी, अफ्रिका रोग नियन्त्रण केन्द्रले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा समुदायमा आधारित निगरानी प्रणालीलाई अझ सशक्त बनाउन आग्रह गरेको छ, ताकि त्यहाँ फैलिएको इबोला रोगलाई नियन्त्रण गर्न सकियोस् ।

विश्व स्वास्थ्य सङ्गठनले बिहीबार कङ्गोको कासाई प्रान्तमा भएको नयाँ इबोला सङ्क्रमणबाट कम्तीमा ३१ जनाको मृत्यु भइसकेको जनाएको छ । ४८ घटना रिपोर्ट भएका छन्, जसमा ३८ पुष्ट छन् । १५ जना उपचाररत छन् भने दुई जना निको भएर घर फर्केका छन् ।

बौमले सबै शङ्कास्पद घटनाहरू पहिचान गरी उपचार केन्द्रमा सार्नुपर्नेमा जोड दिए । दुई जना बिरामी निको हुनु सकारात्मक खबर भएको बताए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार, इबोला एक अत्यन्त सङ्क्रामक रोग हो जसले ज्वरो, वाकवाकी, पखाला, शरीर दुख्ने, कमजोरी लगायतका लक्षण देखाउँछ र धेरैमा आन्तरिक तथा बाह्य रक्तस्राव हुन्छ ।

चुनाव तोकिएकै समयमा हुनुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब संविधानलाई ट्रयाकमा फर्काउनको लागि निर्वाचनको विकल्प नभएको बताएका छन् ।

आज (शनिबार) विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपतिले संविधानलाई धेरै नचलाई निकास खोजेको टिप्पणी गरेका छन् । उनले भने, ‘यस्तो बेलामा सबै कुरा संविधान सम्मत हुँदैन । असंवैधानिक भए पनि भएको संविधानलाई धेरै नचलाई चुनावको घोषणा गरिएको छ । हामीले चुनाव हुन्छ भन्ने विश्वास लिनुपर्छ । फागुन २१ गतेभित्र चुनाव गर्नको लागि सरकारलाई भन्नु पर्छ ।’

उनले सरकारले संविधानलाई टेकेर नै ६ महिनाभित्र चुनावको घोषणा गरेको बताएका छन् । उनले पार्टी पुनर्गठनबारे केन्द्रीय समिति बैठकले निर्णय गर्ने बताए । हिजोको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले विशेष या नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउनुपर्ने प्रस्ताव राखेका थिए ।

त्यसबारे उनले भने, ‘कसले के बोल्नु भयो, कसो बोल्नु भयो सबै थाहा छ तर, केन्द्रीय समितिले निर्णय नगरी अहिले केही बोल्न सक्ने अवस्था छैन । कसले के भन्यो भन्ने कुरा होइन, नेपाली कांग्रेसले के बोल्छ भन्ने मुख्य कुरा हुनुपर्छ।’

रुसी आक्रमणमा तीन जनाको मृत्यु, १३ जना घाइते

युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

क्षेत्रीय सैनिक प्रशासनका प्रमुख सेर्गी लिसाकले बताएअनुसार, रूसले ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी आवासीय क्षेत्रहरूमा आक्रमण गरेको थियो, जसबाट भवनहरूमा क्षति पुगेको छ र आगलागीसमेत भएको छ ।
युक्रेनभर हवाई आक्रमणको सतर्कता जारी गरिएको छ । राजधानी किभ वरपरका क्षेत्रमा पनि आक्रमण भएको छ ।

किभ क्षेत्रीय सैनिक प्रशासन प्रमुख मिकोला कालाशनिकले भन्नुभयो,“सत्रु पक्षले आत्मघाती ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी शान्तिपूर्ण बस्तीहरूलाई निशाना बनाएको छ ।”
त्यसैगरी, दक्षिण युक्रेनको सहर माइकोलाइभमा पनि यस्तै प्रकारको हमला भएको भए पनि मानवीय क्षति नभएको जानकारी नगरप्रमुखले दिए।

रुसी अधिकारीहरूले भने, युक्रेनी सेनाले भोल्गोग्राद र रोस्तोभ क्षेत्रमा ‘ठूलो स्तरको हमला’ प्रयास गरेको तर त्यसलाई सफलतापूर्वक रोकिएको दाबी गरेका छन् । साथै, साराटोभ क्षेत्रमा एक जना सामान्य रूपमा घाइते भएको जानकारी दिएका छन् ।

पहिरोले अवरुद्ध सडक ६ घण्टाभित्र खुल्नेगरी काम अघि बढाएका छौं: मन्त्रालय

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरू विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्ने गरी काम अगाडी बढाएको बताएका छन् ।

शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेका थिए । सो बैठकमा दसैँ र तिहारका लागि यातायात व्यवस्थापन तथा अवरुद्ध सडक खुलाउने विषयमा छलफल गरिने र त्यसका लागि कार्यदल बनाउने जनाइएको छ ।

हिजो साँझ करिब ६ः३० बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण रातभर सडक अवरुद्ध भएको थियोे । करिब ७० मिटर माथिबाट निरन्तर ढुङ्गा झरिरहेको र आज बिहान ७ः४० मा पुनः ठूलो पहिरो खसेर सडक अवरुद्ध छ ।

हाल सो स्थानमा तीन वटा ‘लोडर’ र एउटा ‘स्काभेटर’ परिचालन गरी दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । थप पहिरो नखसेमा कम्तीमा चार घण्टापछि सडक सञ्चालन हुने सम्भावना छ ।

 

गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस

रुस । रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय सङ्कट अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् असफल भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ । उसले यो असफलताको मुख्य कारण संयुक्त राज्य अमेरिकाले पटक–पटक प्रयोग गर्दै आएको भीटो अधिकार भएको स्पष्ट पारेको छ ।

रुसको परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ,“गाजा क्षेत्रमा जारी युद्ध, रक्तपात र सर्वसाधारण जनताको पीडा अन्त्य गर्न सुरक्षा परिषद्ले अहिलेसम्म कुनै ठोस निर्णय लिन नसक्नु अत्यन्तै दुःखद र निराशाजनक विषय हो ।”

बिहीबार, सुरक्षा परिषद्का केही अस्थायी सदस्य राष्ट्रहरूले गाजामा युद्धविराम कायम गर्न, बन्धकहरूको सुरक्षित रिहाइ र मानवीय सहायता सहज रूपमा प्रवेश गराउन प्रस्ताव पेश गरेका थिए । सबै सदस्य राष्ट्रले सो प्रस्तावको समर्थन गरे तापनि, संयुक्त राज्य अमेरिकाले सातौँ पटक त्यसमा भीटो प्रयोग गरी पारित हुनबाट रोक लगायो ।

रुसले आफ्नो धारणा दोहो¥याउँदै भन्यो कि उसले इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे सधैँ स्पष्ट र सन्तुलित अडान लिएको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा गरिएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै पनि रुसले उल्लेख गर्यो,“उक्त घटना कुनै पनि हालतमा सम्पूर्ण प्यालेस्टिनी जनतालाई सामूहिक रूपमा दण्ड दिने बहाना बन्नु हुँदैन, न त यसलाई प्रयोग गरेर मध्यपूर्वमा झन ठूलो युद्ध फैलाउनु उपयुक्त ठहरिन्छ ।”

रुसले जोड दिँदै स्थायी शान्ति र सुरक्षा हासिल गर्न प्यालेस्टिनी जनताको वैध अधिकार र आकांक्षाहरूको सम्मान अनिवार्य रहेको जनाएको छ । जबसम्म यो प्रश्नको न्यायसङ्गत समाधान गरिंदैन, तबसम्म क्षेत्रीय स्थायित्व सम्भव छैन ।

गाजा सहरमा आक्रमण जारी , महिला र बालबालिका सङ्कटमा

गाजा सहरमा जारी आक्रमणका कारण हजारौँ नागरिकहरू आफ्नो ज्यान जोगाउन विभिन्न उपायबाट सुरक्षित स्थानतर्फ जाँदै गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालय (ओछा)का अनुसार, यतिबेला गाजामा भइरहेका स्थल र हवाई आक्रमणका कारण धेरैजसो नागरिक गम्भीर संकटमा परेका छन् । बालबालिका, वृद्ध, महिला लगायत सबैले कठिन परिस्थितिको सामना गरिरहेका छन् ।

ओछाले दिएको जानकारी अनुसार, आक्रमणसँगै गाजाको दक्षिण भागतर्फ विस्थापित हुने नागरिकहरूको संख्या तीव्र रूपमा बढिरहेको छ । धेरैजसो मानिसहरू गाडी, टेम्पो, साइकल र पैदल नै यात्रा गर्दै सुरक्षित ठाउँ खोजिरहेका छन् । यस्ता यात्रामा उनीहरूलाई न त पिउने पानी, न त खानपिनको व्यवस्था, न त ओत लाग्ने ठाउँ उपलब्ध छ ।

“हामीका सहकर्मीहरूले रातभरि हिंडेर आइपुगेका थकित, भोकाएका र पीडामा परेका नागरिकहरू देखेका छन्,” ओछाले उल्लेख गरेको छ । “अल–राशिद सडकमा गाडी, टेम्पो र पैदलयात्रीहरूको अत्यधिक चाप छ । सबैजना सम्भावित जोखिमबाट बच्न दक्षिणतर्फ गइरहेका छन् ।”
यद्यपि इजरायली पक्षले सलाह अद–दिन सडक प्रयोग गर्न आग्रह गरेको थियो, सो सडक हाल सवारीसाधनका लागि चलायमान नरहेको जानकारी प्राप्त भएको छ । अल–राशिद सडक नै अहिले खुला मार्गको रूपमा प्रयोग भइरहेको छ ।

खान युनिस क्षेत्रमा ओछा नेतृत्वको टोलीले विस्थापित परिवारहरूको अवस्था बुझ्दा उनीहरूलाई आपत्कालीन आश्रय, पोषणयुक्त खाना, सफा पिउने पानी र औषधोपचारको खाँचो देखिएको छ । गाजामा पुग्ने राहत सामग्री अहिले पनि आवश्यक मात्राभन्दा निकै कम छ ।
संयुक्त राष्ट्र बालकोष (युनिसेफ) ले गम्भीर चिन्ता व्यक्त गर्दै बिहीबार गाजा सहरमा कुपोषित बालबालिकाका लागि ल्याइएको विशेष पोषण सामग्री लुटिएको थियो । ती सामग्रीले झन्डै दुई हजार ७०० बालबालिकालाई उपचारमा सहयोग पुग्थ्यो । युनिसेफले यस्तो दुर्भाग्यपूर्ण घटनाबाट गम्भीर पीडा भएको जनाउँदै, दीर्घकालीन युद्धविराम अत्यावश्यक भएको स्पष्ट पारेको छ ।

ओछाले थप जानकारी दिँदै उत्तरतर्फ पुग्ने एकमात्र मार्ग ‘जिकिम नाका’ बन्द रहेको भनेको छ । गाजा सहरमा इन्धन पु¥याउने प्रयास अनुमति नपाएर रोकिएको थियो भने पछि बाटोमा अत्यधिक भीडका कारण सहयोग पु¥याउने गाडीहरू निर्धारित स्थानमा पुग्न सकेनन् ।

संयुक्त राष्ट्रसङ्घले सबै पक्षलाई आह्वान गर्दैसर्वसाधारण नागरिकहरूलाई सुरक्षित रूपमा विस्थापित हुन दिनुपर्ने भनेको छ र अवस्था सामान्य भएपछि उनीहरूलाई पुनः आफ्ना घर फर्कन पाउने अधिकार सुनिश्चित गर्नुपर्छ ।

कर्णालीमा ४२ ठाउँमा चाडपर्व लक्षित सुपथ पसल

काँक्रेविहार (सुर्खेत) । कर्णालीमा चाडपर्व लक्षित ४२ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । दसैँ तथा तिहारलाई लक्षित गर्दै गत भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रदेशिक कार्यालयका प्रमुख केशवराज बुढाले जानकारी दिए ।

सहुलियतमा बिक्रीवितरण हुने चामल, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिइएको छ । तेलमा प्रतिलिटर रु सात छुट दिइएको छ । हाल १८ स्थानबाट सोमबारदेखि नै सहुलियत रुपमा खाद्यान्न बिक्रीवितरणको काम सुरु गरिएको छ । सोमबार डोल्पामा सदरमुकाम दुनै, जुफाल मुड्केचुलाको सर्मी, कालीकोट सदरमुकाम मान्मा, पादमघाट, खल्लागाड, जाजरकोटको सदरमुकाम, नायकवाडा, घोगीमा सुपथ मूल्य पसल सञ्चालन भएको छ ।

त्यस्तै मुगुको सदरमुकाम गमगढी, श्रीकोट र सोरुकोटमा आजैदेखि सञ्चालनमा आएको छ । रुकुमपश्चिमको सदरमुकाम मुसीकोट, हुम्लाको श्रीनगर, सर्केगाडमा सुरु भएको छ । जुम्लाको सदरमुकाम खलङ्गा, दैलेख सदरमुकाम र सुर्खेतको सदरमुकाममा बिक्रीको काम सुरु भएको छ । अठार डिपो तथा शाखाका साथै २४ वटा स्थानीय तहमा बिक्रीको काम सुरु भएको जनाइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग हाल चामल १२ हजार क्विन्टल, चिनी १२४ क्विन्टल, २६ हजार लिटर तेल मौजदात रहेको छ । हाल अरुवा मोटा चामल, अरुवा मोटा एफ आर, अरुवा सोना मन्सुली, अरुवा मन्सुली एफ आर , स्टीम जिरा मसिनो , स्टीम जिरा मसिनो एफ आर, सूर्यमुखी तेल, सोयाविन तेल, तोरी तेल र चिनी बिक्री भइरहेको छ ।

‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिने’

काठमाडौँ । समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिने एक अध्ययनले देखाएको छ । वीर अस्पतालमा पछिल्लो ५०० जना मिर्गौला बिग्रेर निकालिएका बिरामीहरुमाथि गरिएको अध्ययनले ९० प्रतिशत मिर्गौलाका बिरामीले समयमै उपचार गरेको भए बचाउन सकिने देखिएको हो ।

उक्त अध्ययन सोही अस्पतालले गरेको थियो । अस्पतालका युरोसर्जरी विभाग प्रमुख कन्सल्ट्यान्ट प्राडा रबिनबहादुर बस्नेतले ५०० जनामा ४७० जनाको मिर्गौला समयमा नै उपचार गरेको भएमा बचाउन सकिने अध्ययनमा देखिएको जानकारी दिए ।

तीमध्ये ३० जनाको मात्र मिर्गौला जोगाउन नसकिने अवस्थाको रहेको उनले बताए । ती जोगाउन सकिने मिर्गौला जनचेतनाको कमीले नियमित जाँच नगर्दा जोगाउन नसकिएको उनको भनाइ छ । उनका अनुसार धेरैजसो मिर्गौलाका बिरामी पत्थरीका कारण हुने गरेका छन् । ५०० जनामा गरिएको अध्ययनमा ६५ प्रतिशत बिरामीमा पत्थरीको कारण मिर्गौला बिग्रिएको देखिएको छ । त्यसैगरी १५ प्रतिशत जन्मजात मिर्गौलाका बिरामी, १० प्रतिशतमा मिर्गौलाको क्यान्सर र चार प्रतिशतमा अन्य सङ्क्रमणले मिर्गौला बिग्रने गरेको अध्ययनले पुष्टि गरेको छ ।

पत्थरीले पिसाब आउने बाटो बन्द गरिदिन्छ र पिसाब थैलीमा पिसाब नआए मिर्गौला फुल्लिँदा मिर्गौला बिग्रने गर्दछ । यसरी एउटा मिर्गौला फुल्लिए पनि अर्को मिर्गौलाले काम गर्ने हुँदा बिरामीले मिर्गौला फुल्लिएको थाहा पाउँदैनन, जसले गर्दा अर्को मिर्गौला बिग्रने चिकित्सकहरुको भनाइ छ ।

जन्मजात मिर्गौलाको पिसाब थैलीमा जाने मुख बन्द भए पनि मानिसको २० देखि ३० वर्षको बीचमा मिर्गौला बिग्रने प्राडा बस्नेतले बताए । संसारमा एकदेखि चार प्रतिशत मानिसको एउटा मात्र मिर्गौला हुने गर्दछ ।

पानी कम खानाले, मधुमेहका बिरामी, मद्यपानका कारण मिर्गौला बिग्रने गर्दछ । ‘पेनकिलर’ औषधि (आइबुप्रोफेन, निमेसुलाइड)आफूखुसी खाँदा पनि मिर्गौला बिग्रने गर्दछ ।

वीर अस्पतालमा मिर्गौला बिग्रेका ५०० जनामध्ये २२० जना पहिलोपटक अस्पताल आएको प्रमुख कन्सल्ट्यान्ट प्राडा बस्नेतले जानकारी दिए। अध्ययनअनुसार पुरुषको तुलनामा महिलाको बढी मिर्गौला बिग्रने समस्या देखिएको छ । उनका अनुसार पुरुषको तुलनामा महिलामा डेढ गुणा बढी मिर्गौला बिग्रने गरेको छ ।

उनले मिर्गौला बचाउनका लागि जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताए । पानी दिनमा तीन लिटर पिउने, मोटोपन घटाउने, फलफूल प्रशस्त खाने, नियमित मिर्गौलाको जाँच गर्ने गर्नुपर्दछ ।

यस्तो छ नेपालगन्जको अवस्था (तस्बिरहरू)

काठमाडौं। गत भदौ अन्तिम साता भएको जेन-जी आन्दोलनका क्रममा देशका अन्य भागमा जस्तै नेपालगन्जमा पनि सरकारी कार्यालयहरू ध्वस्त बनेका छन् ।

भदौ २४ गते आन्दोलनकारीहरूले सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए ।

सरकारी कार्यालयसँगै पार्टी कार्यालयहरू पनि आन्दोलनकारीको निशानामा परेका थिए ।

लहान मुटु अस्पतालद्वारा सेवा विस्तार

सिरहा । लहान मुटु अस्पतालले सेवा विस्तार गर्दै अत्याधुनिक परीक्षण सेवा सुरु गरेको छ । लहान नगरपालिका–४ स्थित चम्पापुरमा निर्माणाधीन यो अस्पतालले हालै मुटुरोग जाँच सम्बन्धित ‘इकोकार्डियोग्राफी’, ‘ट्रेडमिल टेस्ट’ र ‘होल्टर मोनिटर टेस्ट’ सेवा सञ्चालनमा ल्याएको छ ।

त्यस्तै, शुक्रबारदेखि औपचारिक रूपमा २५ श्ययाको सेवा पनि सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डा सञ्जयप्रसाद साहले जानकारी दिए । छ महिनाअघि सुरु भएको ओपिडी सेवामार्फत हालसम्म तीन हजारभन्दा बढी बिरामीले सेवा लिइसकेका छन् । अत्याधुनिक प्रयोगशालासहित न्यूनतम शुल्कमा सेवा दिइरहेको अस्पताल नाफामुखी नभई सेवा–केन्द्रित मोडेलमा सञ्चालन भइरहेको जनाइएको छ ।

अहिले अस्पतालले लहान नगरपालिकाद्वारा उपलब्ध ११ बिघा सार्वजनिक जग्गामा दुई भवनमार्फत सेवा दिइरहेको छ । डा साहका अनुसार, भविष्यमा ५०० श्ययाको पूर्ण अस्पताल बनाउने योजना रहेको छ, जसको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ ।

अस्पताल प्रशासनले एक वर्षभित्र सघन उपचार कक्ष (आइसियु) र सिटीस्क्यान सेवा सुरु गर्ने तयारी गरिरहेको छ । साथै, अस्पताललाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रकै स्वरुपमा कार्डियो–डायबेटिक सेन्टरका रूपमा विस्तार गरिँदैछ ।

नेपाल हृदय रोग निवारण सङ्घअन्तर्गत सञ्चालनमा आएको यो अस्पताल डा बालकृष्ण ओग्र्यानको पहलमा स्थापना भएको हो । जर्मनीस्थित ‘नेपाल मेड ई भि’ र’ रोटरी क्लब कटबस’ संस्थाबाट करिब रु दुई अर्ब बराबरको सहयोगमा अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको छ ।

गुणस्तरीय सेवा दिइँदै आए पनि प्रचारप्रसार, स्थानीयको साथ, सहयोग र विश्वासले नै अस्पतालको भविष्य उज्ज्वल बनाउने अस्पतालको प्रशासन तथा वित्त शाखा प्रमुख रिना चौधरीले बताए ।

मलेसियामा हुने सुपर वुमेन्स सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं। मलेसियन सुपर वुमेन्स शृंखला र मलेसियाविरुद्धको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलका लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार इन्दु वर्माको कप्तानीमा टोली घोषणा गरेको हो। यही सेप्टेम्बर २४ देखि ३० सम्म मलेसिया क्रिकेट संघको आयोजनामा मलेसियन सुपर वुमेन्स सिरिज हुनेछ।

मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा हुन लागेको सिरिजमा नेपाली खेलाडीले ५ फरकफरक टिमबाट सिरिज खेल्नेछन् ।

राष्ट्रिय महिला क्रिकेट टिमको तयारी स्वरूप खेलाडीले सिरिज खेल्ने क्यानले जनाएको छ । त्यसलगत्तै नेपाली टोलीले मलेसियामै अक्टोबर २-८ मा मलेसियासँग ५ खेलको टी-२०आई सिरिज खेल्नेछ ।

यस्तो छ नेपाली टिम

इन्दु वर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवी पोद्दार, यशोदा विष्ट, सावित्रि धामी र कविता कुँवर

दसैँ नजिकिएसँगै बजारमा उपभोक्ताको घुइँचो

काठमाडौँ । दसैँ नजिकिएसँगै बजारमा किनमेल गर्नेको घुइँचो देखिन थालेको छ ।

कपडा एवं खाद्यान्नका थोक तथा खुद्रा र सुपथ मूल्य पसलमा उपभोक्ताको घुइँचो लाग्न थालेको हो । राजधानीको मुख्य बजारहरु असन, इन्द्रचोक, महाबौद्ध, न्यूरोड, सुन्धारा, टेकु, त्रिपुरेश्वरमा उपभोक्ताको घुइँचो बढेको छ ।

सहरमा सस्तो सामान पाइन्छ भनी किनमेलका लागि आए पनि विगतमा भन्दा भाउ बढेको पाइएको गोदावरीबाट सामान किनमेलका लागि महाबौद्ध आएकी सजना आचार्यले बताइन्। “तीजअघिभन्दा पनि अहिले भाउ बढेको रहेछ, गत हप्ताको आन्दोलनका कारण व्यवसायीले भाउ बढाएजस्तो लाग्यो, कुनै पनि निकायले अनुगमन गरेजस्तो लागेन,” उनले भनीन्, “सरकारी निकायले जुनसुकै सामान किन्दा बिल लिनु भने पनि बजारमा व्यवसायी बिल दिन अप्ठ्यारो मान्छन्, प्यान र भ्याट बिल त हत्तपत्त दिँदैनन्, दिनै परे पनि सादा बिल दिन्छन् ।”

चीनसँगको नाका तातोपानी र रसुवागढी बन्द भएका कारण कपडा नआएकाले व्यवसायीले भाउ बढाएको जनाएका छन् । सरकारले अनुगमन नगर्ने र दोषीलाई कारबाही गर्ने प्रणालीको विकास नभएका कारण दण्डहीनता मौलाएको थानकोटबाट आउनुभएका मङ्गलबहादुर तामाङको भनाइ छ । तीन तहको सरकार भए पनि अनुगमनमा कसैको रुचि नभएको उनको भनाइ छ ।

बडादसैँ, तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत भदौ ३० गतेदेखि नै सहुलियत मूल्य पसल सुरु गरिसकेको छ । यसले उपभोक्तालाई केही राहत दिएको छ । ती सुपथ मूल्य पसलमा रु पाँच, सात र १० छुट दिइएको सूचना अधिकारी माधव मिश्रले जानकारी दिए ।

दाल, चामल, चिनी, गहुँका सामग्रीमा रु पाँच छुट गरिएको छ । त्यसैगरी तेल, चिउरा, आँटा, पीठो, मैदालगायतमा रु सात छुट दिइएको छ । चियापत्ती, जिरा, धनियाँ, रैथाने खाद्य वस्तुलगायत सामग्रीमा रु १० छुट गरिएको सूचना अधिकारी मिश्रले जानकारी दिए। सहुलियत मूल्य पसल छठ पर्वसम्म सञ्चालन हुने जनाइएको छ ।

यस्ता पसल प्रत्येका वडामा कम्तीमा एउटा खोलिदिए पर्वमा उपभोक्ताले राहत पाउने भक्तपुरको सूर्यविनायकबाट सामान किन्न आएका बलराम कोजुले बताए ।

दुई सय ३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म २३६ परियोजनाका लागि रु ३३ अर्ब नौ करोड २० लाख ५४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको गत साउन र भदौको वैदेशिक लगानी स्वीकृतिसम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यमस्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको हो । विभागका अनुसार लागतका आधारमा कृषिमूलक उद्योग र परियोजना सङ्ख्याका आधारमा सूचना प्रविधिमूलक उद्योगमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । कृषिमूलक उद्योगमा नौवटा परियोजनाका लागि रु २१ अर्ब ५९ करोड ८० लाख बराबरको लगानी प्रतिबद्धता आएको छ ।

त्यस्तै, उत्पादनमूलक उद्योगका १२ वटा परियोजनामा रु एक अर्ब २४ करोड, ऊर्जामूलक उद्योगका एउटा परियोजनामा रु १८ करोड २५ लाख ५० हजार र सेवामूलक उद्योगका १५ परियोजनामा रु दुई अर्ब ८१ करोड ५० लाख बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । त्यसैगरी पर्यटनमूलक क्षेत्रका ७९ परियोजनामा रु छ अर्ब ६९ करोड २० लाख ५० हजार सूचना प्रविधिमूलक उद्योगका १२० परियोजनामा रु ५६ करोड २७ लाख ५४ हजार बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

त्यस्तै, पछिल्लो दुई महिनामा मात्र ४०९ जना लगानीकर्ता तथा ६० जना लगानीकर्ताका प्रतिनिधि र १०७ जना आश्रित(डिपेन्डेन्ट)लाई नेपालका लागि भिसा सुविधा उपलब्ध गराइएको विभागले जनाएको छ । उद्योग विभागले हालसम्म कुल सात हजार ४७५ वटा परियोजनाका लागि रु छ खर्ब ८४ अर्ब ५१ करोड ४१ लाख ७१ हजार बराबरको लगानी स्वीकृत गरिसकेको छ ।

नारायणगढ-मुग्लिनमा खसेको पहिराे हटाउन सुरु

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको तुइनख‍ोला पुलमा खसेको पहिरो हटाउन सुरु गरिएको छ । ढुंगा खस्ने क्रम नरोकिएतापनि पहिरो हटाउने कार्य सुरु गरिएको हो ।

हिजो साँझ करिब ६:३० बजे देखि मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण रातभर सडक अवरुद्द भएको थियो । आज बिहान पुन: पहिरो खसेपछि समस्या भएको थियो ।

ढुंगा खस्ने क्रम निरन्तर भईरहेको हुँदा पहिरो हटाउनको लागि समस्या भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। हाल ३ वटा लोडर र एउटास्काभेक्टर परिचालन गरि दुवै तर्फबाट पहिरो हटाउने कार्य सुचारू भइरहेको छ ।

झापामा जङ्गली हात्ती मृत फेला

 झापा । मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् ।

मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए । घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ ।

वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती २२ वर्ष जति उमेरको भएको बताए । ‘हिजो बेलुका सो क्षेत्रमा भारतबाट १२ वटा हात्ती प्रवेश गरेको सूचना प्राप्त भएको थियो,” उहाँले भन्नुभयो, “बिहान त एउटा हात्ती मरेको खबर आयो ।’

के कारणले हात्ती म¥यो भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रमुख श्रेष्ठको भनाइ छ ।

पोखराको विन्ध्यवासिनी मन्दिरमा हुने नवदुर्गा महोत्सव

गण्डकी ।  पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा यही असोज ६ गते घटस्थापनादेखि १५ गते महानवमीसम्म नवदुर्गा महोत्सव सञ्चालन हुन लागेको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।
उनका अनुुसार महोत्सवमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञ सञ्चालन गरिने छ । यस अवधिमा प्रत्येक दिन बिहान ९ः०० देखि मध्याह्न १२ः०० बजेसम्म महायज्ञ सञ्चालन हुनेछ । त्यस्तै सतचण्डी महानुष्ठान बिहान ६ः०० देखि ९ः००  बजेसम्म हुनेछ भने भजनकीर्तन अपराह्न २ः०० देखि ४ः०० बजेसम्म गरिने समितिले जनाएको छ ।
विजया दशमीको अवधिभर मन्दिरमा नित्य पूजा बिहान ४ः०० देखि प्रारम्भ भई भक्तजनहरूको दर्शनका लागि मन्दिर ५ः०० बजेदेखि खुला गरिनेछ । साथै प्रत्येक साँझ ६ः०० बजे आरती गरिनेछ । महायज्ञका वाचकका रूपमा श्रीकृष्णनुरागी पण्डित पशुपति पौडेल रहने जनाइएको छ ।
विजयादशमीको पावन अवसरमा २०६४ सालदेखि विध्यवासिनी नवदुर्गा महोत्सवको आयोजना गर्दै आइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । महोत्सवका अवसरमा विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा र श्रीमद्देवी भागवत ज्ञान महायज्ञ गरिँदै आइए पनि यस वर्ष भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्वतयारीमा बाधा पुग्न गएकाले शोभायात्रा भने स्थगित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
अढाई शताब्दीअघि देखि नै पूजाआजा हुँदै आइएको मानिने यस मन्दिरको स्थापना कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको पालामा भएको भनाइ छ । मन्दिरको संरक्षण विकास र प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०४३ सालमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको गठन गरिएको थियो ।
समितिको गठनपश्चात् यस धार्मिक क्षेत्रमा भौतिक पूर्वाधारहरूको निर्माण, सौन्दर्यकरण, सामाजिक, धार्मिक तथा आध्यात्मिक जागरणसम्बन्धी कार्यहरू हुँदै आएका छन् । समितिले विन्ध्यवासिनी दर्शन गर्न पोखरा आउने श्रद्धालु भक्तजनहरूबाट प्राप्त भेटी तथा दान दातव्यलाई जनहितको कार्यमा प्रयोग गर्दै आएको छ ।
दाताहरूको सहयोगमा समितिबाट विन्ध्यवासिनी मन्दिर परिसरमा शिव मन्दिर, राधाकृष्ण मन्दिर, विन्ध्यवासिनी गुरुकुल भवन, सन्त निवास, विन्ध्यवासिनी बहुद्देश्यीय सभा–भवन, प्रदक्षिणा पथ, विन्ध्यवासिनी मन्दिर परिसरमा ढुङ्गा छपाइ, विन्ध्यवासिनी मन्दिर र गणेश मन्दिरमा पित्तलद्वारा कलात्मक सजावट र पित्तलको द्वार निर्माण आदि गरिएका छन् ।
त्यस्तै भक्तजनहरूको सुविधा र सौन्दर्यकरणका लागि प्रदक्षिणा पथ, शौचालयहरू, कीर्ति स्तम्भ, पानीका लागि बोरिङ तथा खानेपानी भण्डारणका लागि ४० हजार लिटर क्षमताको टङ्की, जलधारा, शुद्ध पिउने पानी, विशाल त्रिशूल र शक्ति ध्वजा र विशाल कमण्डलुका साथै विन्ध्यवासिनी वाटिका निर्माण गरी त्यसमा पानीको फोहोरा र शिवानन्द कुण्डको निर्माणलगायतको धेर काम गरिसकिएको छ ।
मन्दिरमा २०५१ सालमा स्थापित विन्ध्यवासिनी गुरुकुल विद्याश्रममा कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीय रूपमा अध्यापन हुँदै आएको छ । गुरुकुललाई कक्षा १२ सम्म विस्तार गर्ने योजनाअनुरूप विन्ध्यवासिनी गुठीको हक–भोग स्वामित्वको पोखरा महानगरपालिका–१८ स्थित २६ रोपनी क्षेत्रफल जग्गामा भवन निर्माण गर्ने कार्य झण्डै अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
मन्दिरमा आउने ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिला समेतको सुविधालाई ध्यानमा राखेर मन्दिरमा सहज पहुँचको व्यवस्थाका लागि लिफ्टको स्थापना गरिएको छ ।
समितिले सेवा कार्यलाई प्राथमिकता दिँदै ज्येष्ठ नागरिकहरूका लागि दिवा सेवा उपलब्ध गराउने उद्देश्यले २०७२ सालबाट विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्नाका साथै एम्बुलेन्स सेवा पनि सञ्चालन गरिएको छ ।
त्यस्तै प्राकृतिक चिकित्सा पद्धतिका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याइएको छ । यसको भौतिक पूर्वाधार निर्माण कार्य जारी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
विभिन्न पर्व उत्सवका पूजन धार्मिक आध्यात्मिक जागरण तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विभिन्न पर्वहरूका उपलक्ष्यमा विशेष पूजनोत्सव आयोजना गर्ने गरिएको उनले बताए ।
उनका अनुसार साउनमा शिव पूजनोत्सव, गणेश चौथीमा गणेश पूजनोत्सव, श्रीपञ्चमीमा सरस्वती पूजनोत्सव, श्रीकृष्ण जन्माष्टमीमा श्रीकृष्ण जनमोत्सव, राम नवमी, हनुमान जयन्ती, शिवरात्रिमा विशेष कार्यक्रमहरू हँुदै आएका छन् ।

शेखर भन्छन्–कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुकिन्छ

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता जनाएका छन् । आज (शनिबार) विराटनगरस्थित कोइराला निवासको जलेको भवनहरूको निरीक्षण र अनुगमन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

नेता कोइरालाले भने, ‘यो एउटा इतिहास जलाइएको छ । यो घटनाको विषयमा बिस्तारै पर्दाफास हुन्छ । लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा कोइराला निवासमा पनि आगजनी गरिएको थियो ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पनि जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका थिए । संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गरेका हुन् ।

वास्तविक जेनजी को हो ? भनेर ठम्याउनुपर्ने बेला भएको समेत उनको भनाइ छ । ‘उनीहरूले तीन वटा कुराहरू उठाएका थिए । सुशासन, भ्रष्टाचार र सामाजिक सञ्जालको कुरा मात्रै थियो । तर पछि उनीहरूले त हरेक ठाउँमा आगो लगाए । मेरो घर पनि जल्यो । मैले के गल्ती गरेको थिएँ ? थाहा छैन,’ उनले भने, ‘चार चोटि जितेँ, मन्त्री पनि भएको छैन । न त भ्रष्टाचार नै गरेको छ । मेरो मात्र होइन गणेशमानजीको घर जल्यो, किसुनजीको घर जल्यो । ८० वर्ष पुरानो कोइराला निवास जल्यो । किन जल्यो ? यो प्रश्नको उत्तर म दिन सक्दिनँ ।’

जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको विरोधमा आन्दोलन गरेको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएकै कारण राज्य संरचना खरानी भएको बताए । ‘म त अचम्ममा परें । कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपात भयो । मान्छेहरू मरे । भनिन्छ एक्सपर्टले गोली हानेको छ । टाउको र छातिमा नै गोली हानेको छ । जुन पुलिसले गर्नै सक्दैन,’ कोइरालाले भने, ‘घुसपैठहरू आन्दोलनमा घुसेका छन् । सबैभन्दा पहिले त हामीले यो जेनजी भनेको कुन शक्ति हो भन्ने कुरा ठम्याउनु पर्‍यो ।’ संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि सबै एकजुट भएर अगाडि बढ्नु पर्नेमा उनको जोड छ ।